You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

नदी अतिक्रमणले डुब्यो भक्तपुर

पहिरोले एकै परिवारका तीनको मृत्यु
सयौं घर, अस्पताल र विद्यालयको तल्लो तला जलमग्न
बस्ती नै जोखिममा पर्ने गरी कटान
भूकम्पपीडितको बिचल्ली
करिब ५ सय परिवार आंशिक विस्थापित
- लीला श्रेष्ठ
भक्तपुरमा बुधबार रातिदेखि परेको लगातारको वर्षाले बस्ती डुबानमा परेपछि घरभित्रै फसेका शिशु र आमाको डुंगाबाट उद्धार गरिँदै । बाढीले सयौं घर, विद्यालय, अस्पताल र मठमन्दिर डुबानमा परेका छन् । हनुमन्ते नदी अतिक्रमित भएकाले बाढीले निकास पाउन नसक्दा कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका घरबस्ती डुबानमा परेका हुन् । बाढीले अरनिको राजमार्ग र सहायक सडकहरूसमेत अवरुद्ध हुँदा बिहीबार दिनभर यातायात प्रभावित भयो । तस्बिर : हेमन्त श्रेष्ठ

भक्तपुर– अतिक्रमणका कारण नदी साँघुरिएकाले अविरल वर्षापछिको बाढीले निकास पाउन नसक्दा भक्तपुर जलमग्न भएको छ । बुधबार रातिदेखिको वर्षाले हनुमन्ते नदीमा बाढी आएपछि सूर्यविनायक, मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका अधिकांश स्थान डुबानमा परेको हो । प्रत्येक वर्ष जिल्लाको मुख्य नदी हनुमन्ते तथा सहायक खोलाहरू अतिक्रमणका कारण साँघुरिँदै गएका छन् ।


बालकोट, सिरुटार, कौशलटार, गठ्ठाघर, सागबारी, नयाँ थिमि, शंखधरचोक, एसएस चोक, ब्राइटर, कमेरोटार, राधेराधे, सिर्जनानगर, सल्लाघारी, निकोसेरा, दुवाकोट, जगाती तथा लिवाली क्षेत्रका सयौं घर, अस्पताल, विद्यालय डुबानमा परेका छन् । हनुमन्तेको बाढी ६ लेनको सूर्यविनायक–तीनकुने सडकभन्दा ४ फिटसम्म उचाइको बस्तीमा पुगेको थियो । डुबानका कारण अरनिको राजमार्गअन्तर्गत कोटेश्वर, सूर्यविनायक भएर चल्ने लामो दूरीका यातायातसमेत प्रभावित भए । उपत्यकाबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लामा चल्ने सवारीसाधन रोकिँदा सयौं यात्री अलपत्र परेका थिए । यातायात बिहीबार दिउँसो मात्र खुलाइएको थियो ।


भक्तपुर नगरको बस्तीमा मध्यरातिदेखि तथा सूर्यविनायक, मध्यपुर थिमि आसपासमा बिहान ५ बजेदेखि हनुमन्तेको बाढी पसेपछि जनजीवन प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।


बाढीले भूकम्पपीडितका अस्थायी शिविर, जगाती–च्याम्हासिंह क्षेत्र, भेलुखेल, राममन्दिर, बाराहीस्थानका घर डुबानमा परे । ‘टहरामा एक्कासि पानी पसेपछि भूकम्पपीडितको बिचल्ली भएको छ,’ शिविरमा बस्दै आएका वीरेन्द्र खाइजुले भने, ‘निकाल्न सकिने सामान निकाल्यौं, धेरै त झिक्नै पाइएन ।’ मध्यपुर अस्पताल, सिद्धि स्मृति, डा. इवामुरालगायत अस्पताल डुबानमा पर्दा उपचार सेवा प्रभावित भएको छ भने विद्यालय डुबानका कारण बिहीबार अधिकांशमा पठनपाठन भएनन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतको संयुक्त टोलीले बाढी तथा डुबानमा फसेका १ सय ११ जनाको सकुशल उद्धार गरिएको छ । जसमध्ये सल्लाघारीकी १८ वर्षीया अमृता श्रेष्ठ, १९ वर्षीया अरुली श्रेष्ठ र सिर्जनानगरकी ६५ वर्षीया सोमती लामा घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठले बताए ।


बाढीले २५ चौपाया तथा २ हजार कुखुराको चल्ला बगाएको प्रहरीले जनाएको छ । जिल्लामा करिब ५० घर तथा टहरामा आंशिक क्षति भएको र करिब ५ सय घरपरिवार आंशिक विस्थापित हुनुका साथै अन्नबाली, लत्ताकपडालगायतका सामान क्षति भएको एसपी श्रेष्ठले बताए ।


किन डुब्यो भक्तपुर ?
हनुमन्ते नदीको दुवै किनाराको जग्गा अतिक्रमण हँ‘दा भक्तपुर डुबानमा परेको हो । प्रत्येक वर्ष जिल्लाको मुख्य नदी हनुमन्ते तथा सहायक खोलाहरू अतिक्रमणका कारण साँघुरिँदै गएका छन् ।


बिहीबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले जग्गा मिच्ने प्रवृत्ति बढदै गएकाले बस्ती डुबानमा परेको बताए । ‘२०२१ सालको नापीअनुसार कुनै पनि खोलाको क्षेत्रफल मिल्दैन, मापदण्डमा २० मिटर तोके पनि कार्यान्वयन नहुँदा खोला मिचिँदै गएको छ,’ उनले भने ।


समितिको बैठकमा सहभागी जनप्रतिनिधि, सरोकारवाला निकाय, सुरक्षा निकायका प्रतिनिधिहरूले पछिल्लो समय बढ्दै गएको खोलाको जग्गा अतिक्रमण तथा अनियमित रूपमा बढ्दै गएको संरचनाका कारण डुबानलगायत विपद् आइलागेको बताएका थिए । बैठकले क्षतिको विवरण यथाशीघ्र संकलन गरी समितिलाई उपलब्ध गराउने र विपद् तथा मनसुन पूर्वतयारी कार्ययोजनाको समीक्षा गरी आवश्यकताअनुसार सम्बन्धित निकायले पुनरावलोकन गर्ने निर्णय पनि गरेको छ ।


२०७२ को भूकम्पपछि पनि मनोहराको बाढी बस्तीमा पसेको थियो । त्यसअघि २०५२ मा पनि बाढी पसेको स्थानीय बासिन्दाले बताएका छन् ।

गृह पृष्ठ

मन्त्रालयमै डाकेर चिकित्सकलाई ‘केरकार’

चिकित्सक संघ भन्छ– अपहरणको शैलीमा लगेर घण्टौं दुव्र्यवहार गरियो
- जनकराज सापकोटा

काठमाडौं– वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत डा. भोजराज अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ ले मंगलबार मन्त्रालय झिकाएर भनेअनुसार काम गर्न अनुचित दबाब दिएका छन् । गृहमन्त्रीको आदेश भन्दै अधिकारीलाई लिन गाडी पठाइएको थियो । सरकारी चिकित्सक संघले डा. अधिकारीलाई ‘अपहरणको शैली’ मा गृह मन्त्रालय लगिएको उल्लेख गर्दै विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।


ट्रमा सेन्टरका चिकित्सकहरूले स्वास्थ्य जाँचपछि दिने रिपोर्टका आधारमा द्वन्द्वकालका घाइतेहरूको वर्गीकरण हँुदै आएको छ । घाइतेहरूको अपांगताका आधारमा सरकारले भत्ता र सरकारी सेवामा आरक्षणलगायतका सुविधा दिने गर्छ । प्रत्येक पाँच–पाँच वर्षमा घाइतेहरूको स्वास्थ्य परीक्षणपछि उनीहरूको वर्गीकरण तलमाथि गर्ने गरिन्छ, जसका आधारमा उनीहरूले पाउने भत्तासमेत घटीबढी हुने गर्छ । यस्तो रिपोर्ट बनाउँदा आफूले भनेअनुसार गर्नका निम्ति गृहमन्त्रीका सल्लाहकार पथिकले अधिकारीलाई अनुचित दबाब दिएका हुन् ।


पथिकले अधिकारीलाई गृह मन्त्रालयभित्रै बोलाएर केही जनयुद्धका घाइतेहरूको वर्गीकरण ‘मिलाएर’ गरिदिन दबाब दिएका थिए । कान्तिपुरसँग कुरा गर्दै अधिकारीले भने, ‘पुलिसले चोरलाई थर्काएजस्तो गरियो ।’ उनका अनुसार पथिकले वर्गीकरणको विषयमा ‘तपाईंले जे काम गर्नुभयो, त्यो ठीक छैन’ भन्दै केरकार गरेका थिए । झन्डै दुई घण्टा गृहमा बिताएपछि अधिकारी अस्पताल फर्केका थिए ।


पथिकले अधिकारीलाई आफूले गृह मन्त्रालयमा भेटेको र जनयुद्धका घाइतेको वर्गीकरणको विषयमा कुरा गरेको बताए । वर्गीकरणको माथिल्लो सूचीमा नाम पार्न सके धेरै सुविधा पाउन सकिने भएपछि पथिकले अधिकारीलगायतका चिकित्सकलाई दबाब दिएर केहीको रिपोर्ट मिलाएर बनाउन अह्राएका थिए । तर यसबारे सोध्दा पथिकले भने, ‘त्यस्तो खास केही होइन । कुरा मिलिसक्यो । भेटेरै गफ गरौंला ।’


गृहमन्त्रीका सल्लाहकारको अनुचित दबाबपछि ट्रमा सेन्टरले तत्कालका लागि मेडिकल रिपोर्ट बनाउने काम बन्द गर्ने निर्णय गरेको छ ।


सरकारी चिकित्सक संघ नेपालले विज्ञप्ति जारी गरी डा. अधिकारीलाई ‘अपहरणको शैली’ मा गृह मन्त्रालयमा लगी घण्टौं दुव्र्यवहार गरिएको भन्दै खेद प्रकट गरेको छ । दोषीउपर कडा कारबाहीको माग गर्दै संघले कारबाही नगरे जस्तोसुकै कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।


गृहले भने द्वन्द्वका घाइतेहरूको सम्बन्धमा छलफलका लागि अधिकारीलाई बोलाइएको जनाएको छ । बोलाउँदा गाडी पठाइदिनुस् भनेपछि पठाइएको गृहमन्त्रीका
प्रेस सल्लाहकार किरण भट्टराईले दावी गरे । उनले सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरूको प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि २०७४ अनुसार गठित प्राविधिक समितिका सदस्य रहेका चिकित्सकलाई छलफलमा बोलाउने अधिकार गृहसँग भएको बताए । तर गृह स्रोतका अनुसार मंगलबार उक्त विषयमा गृहमा कुनै छलफल कार्यक्रम थिएन । सल्लाहकार भट्टराईले द्वन्द्वका क्रममा अपांगता भएकालाई चिकित्सकले दुव्र्यवहार गरे भन्ने रिपोर्ट गृहमा आएको समेत दाबी गरे ।


भट्टराईले अधिकारीलाई लिन गाडी पठाइएको बताए पनि सल्लाहकार पथिकले भने कान्तिपुरसँगको कुराकानीमा गाडी नपठाइएको दाबी गरेका छन् ।


यसैगरी नेपाल चिकित्सक संघले पनि डा. अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालयमा लगि दुव्र्यवहार गरिएको भन्दै भत्र्सना गरेको छ । संघले उक्त घटनामा संलग्न व्यक्ति माथि कारबाही माग गरेको छ ।


अन्याय गरियो, अदालत जान्छौं : पदमराज परियार (द्वन्द्वका घाइते)
रोल्पाकी सीता महराको एउटा खुट्टो घुँ‘डाभन्दा तल छैन । उनलाई सरकारले पहिले ६५ प्रतिशत अपांग भनेको थियो । पछिल्लो कार्यविधिअनुसार ६५ प्रतिशत नै देखिन्छ । तर अहिले भोजराजले ३५ प्रतिशत तोकिदिनुभयो । त्यही विषयमा कुरा राख्न हामी सात जना उहाँलाई भेट्न ट्रमा सेन्टर पुगेका थियौं । हामीले ‘डाक्टर साब काम गर्नुहुन्छ भने तपाईं कार्यविधिअनुसार गर्नुस्’ भन्यौं । तर डाक्टरसाबले कार्यविधिअनुसार होइन, म जे देख्छु त्यही गर्छु भन्नुभयो । यसरी त हामी १४ सय घाइते साथीको जीवन बर्बाद हुँदै छ । डाक्टरले त हामीलाई तपाईंहरूले गोली हाने पनि म काम गर्दिनँ भन्नुभयो ।


त्यसपछि हामी गृहमन्त्रीका स्वकीय सचिव बिरु तामाङलाई भेट्न गृह मन्त्रालयमा गयौं । हामीलाई अन्याय भयो, अभद्र व्यवहार गरियो भन्यौं । कार्यविधिअनुसार काम गर्नुपर्‍यो भन्दा डाक्टरले हुँदैन भन्नुभयो । गोली हान्नुस्, म गर्दिनँ, मेरो अधिकारको कुरा हो भन्ने डाक्टरलाई कि सम्झाउनुपर्‍यो कि चेन्ज गर्नुपर्‍यो भन्ने कुरा राख्यौं । उहाँले त वामपन्थीले देश बिगार्न थाले पो भन्नुभयो ।


केही होइन, बसेरै कुरा गरौंला : पथिक
तपाईंले ट्रमा सेन्टरका एक चिकित्सकलाई गृह मन्त्रालय बोलाउनुभयो भन्ने सुनिन्छ । खास के हो ?
त्यो खासै केही कुरा होइन । घाइतेहरूको वर्गीकरण तिनीहरूले गर्दैछन् । त्यसमा के–के भएको छ भनेर बुझ्न, छलफल गर्न हो । अरू केही होइन ।


त्यति बुझ्न चिकित्सकलाई सोझै गृह बोलाउनुपर्छ र ?
उनले नै त्यो काम गरेका रहेछन् । त्यही भएर बोलाएको । अरूले गरेको भए अरूलाई नै बोलाउँथ्यौं ।


के छलफल भयो त ?
केही भएको छैन । राम्रै भएको छ ।


गृहमा के विषयमा मुख्य छलफल भयो ?
बसेर कुरा गरौंला ।


फोनमा कुरा गर्न मिल्दैन ?
केही पनि होइन खासमा । घाइतेहरूको पुनर्मूल्यांकनको कुरा थियो । त्यस सन्दर्भमा के–के प्रगति भइरहेको छ । अलिअलि घाइतेहरूले गुनासो गरेका थिए । हाम्रो पर्सेन्टेज घट्यो भनेर । त्यही हो ।


पर्सेन्टेज घट्यो भने पनि त्यसबारे बुझ्न त विधिसम्मत प्रक्रिया हुन्छ होला नि त । तपाईंले सोझै गृह बोलाएर सोध्दा त्यसको अनर्थ लाग्ने हुँदैन र ?
त्यस्तो होइन ।


तपाईंले गाडी पठाउनुभयो कि उहाँ आफैं आउनुभयो ?
आफंै आउनुभएको हो ।


गाडी पठाउनुभएको पनि होइन ?
होइन ।


अधिकारी कति समय गृह मन्त्रालय बस्नुभयो त ?
मसँग त दस मिनेट कुरा भएको हो । त्योभन्दा धेरै कुरा भएको छैन ।


गृहमन्त्रीसँग पनि कुरा भएको हो ?
होइन ।

Page 2
समाचार

सरकार किम जोङ शैलीमा : कांग्रेस

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति र ट्रमा सेन्टरका चिकित्सकलाई दुव्र्यवहार गरेर जनतालाई तर्साउन खोजेको भन्दै विरोध गरेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेस नेता प्रदीप गिरीले क्यानडा जान लागेका संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला र ट्रमा सेन्टरका चिकित्सक डा. भोजराज अधिकारीलाई दुव्र्यवहार गरेर सरकारले तुजुक देखाएको आरोप लगाए ।


‘सरकारले जनतालाई तर्साउन खोजेको छ,’ बैठकको विशेष समयमा बोल्दै गिरीले भने, ‘हाम्रा प्रधानमन्त्री दक्षिण एसियाकै शक्तिशाली हुनुहुन्छ । अहिले प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो । तुजुक र दम्भ देखाउने बेला होइन । उपकुलपतिमाथि भएको दुव्र्यवहारको घटना अन्जानमा भएको हो भने हुन्छ ।’ उनले यी दुई दुव्र्यवहारका घटनाले लोकतन्त्रमाथि नै प्रहार भएको आरोप लगाए । लोकतन्त्रमा जनतादेखि सरकार डराउने र तानाशाही व्यवस्थामा मात्र सरकारदेखि जनता डराउने गरेको उनले बताए ।


शून्य समयमा कांग्रेस सांसद अमरेशकुमार सिंहले ट्रमा सेन्टरका डा.अधिकारीलाई गृहमन्त्रीको आदेशमा अपहरण शैलीमा लगिएको भन्दै विरोध जनाए । सरकारले उत्तर कोरियाली नेता किम जोङ उनको शैलीमा बुद्धिजीवीलाई तर्साइरहेको सिंहले बताए । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले उपकुलपति कोइरालालाई सम्मेलनमा पठाउन सरकारलाई आग्रह गरे । उपकुलपतिलाई क्यानडा जान नदिएर मुलुकको स्वाभिमानमाथि क्षति पुर्‍याइएको उनले बताए । ‘समापन समारोहमा भए पनि उपकुलपति कोइरालालाई पठाइयोस्,’ उनले भने, ‘नेपालको पहिचान, इज्जत र प्रतिष्ठामा आँच आउने काम नहोस् ।’


सांसद गिरीले डा.गोविन्द केसीले उठाएको मागमा सिंगो संसद् पार्टीको हवीपअनुसार पक्ष र विपक्षमा विभाजित भएकामा असन्तुष्ट जनाए । राजपाका सांसद अनिलकुमार झाले आफ्नो पार्टी केसीको सत्याग्रहको पक्षमा रहेको बताए । नेकपाका सांसद मोहन बानियाँले केसीको अनशनलाई बेमौसमी बाजा भन्दै कानुन हातमा लिने गरी अनशन बसेको भन्दै विरोध जनाए । ‘कसलाई के खान मन लाग्छ, उसलाई सरकारले पुर्‍याउन सक्दैन,’ उनले भने ।


नेकपाका किसान श्रेष्ठले काठमाडौं उपत्यकाका सडक हिलाम्मे हुँदा पनि सरकारले नबनाएकोमा आपत्ति जनाए । सडकले नगरपालिका, नगरपालिकाले मेलम्ची आयोजनालाई दोष दिएर उम्कने गरेकोसमेत उनले बताए । सांसद कृष्णभक्त पोखरेलले नारायणघाट–मुग्लिन सडकमा भौगर्गिक अध्ययनबिनै अर्बौं रुपैयाँ खर्च गरेकोमा विरोध जनाए ।


सांसद खगराज अधिकारीले कास्की र म्याग्दीलाई हिमाली जिल्लामा राख्न माग गरे । नेकपाकै अर्का सांसद गणेश ठगुन्नाले दार्चुलालाई बाढीग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग राखे । नेकपाका सांसद गंगाबहादुर तामाङले बनेपा र पनौतीमा बाढी आउँदा किसानको धानबाली नष्ट भएकाले राहतको व्यवस्था गर्नुपर्ने बताए । उनले रोशी खोलाको क्रसर उद्योग नियमन गर्न सरकारसँग माग राखे । कांग्रेस सांसद जिपछिरिङ लामाले दोलखाका भूकम्प पीडितले तेस्रो किस्ता पाउन नसकेको बताए ।


मन्त्री नहुँदा विधेयक पेस भएन
शिक्षामन्त्री गिरिराजमणि पोखरेल संसद्मा नआएपछि चिकित्सा शिक्षा विधेयक बिहीबारको बैठकमा पेस हुन सकेन । कार्यसूचीको ४ नम्बरमा शिक्षामन्त्री पोखरेलले विधेयक पेस गर्ने उल्लेख थियो । मन्त्री बर्दिया गएको जानकारी पाएपछि कार्यसूचीबाट हटाइएको संसद् सचिवालयले जनाएको छ ।

समाचार

आफैं विपक्षी, आफ्नै नेतृत्वमा आदेश !

वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले आफैं विपक्षी भएको मुद्दा सुनुवाइ गर्दै टिप्पणीसहित ‘संवैधानिक इजलास’ पठाएका हुन् 
- कृष्ण ज्ञवाली

काठमाडौं– सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले आफैं विपक्षी भएको एउटा मुद्दाको सुनुवाइ गर्दै टिप्पणीसहित त्यसलाई ‘संवैधानिक इजलास’ मा पठाउन आदेश दिएका छन् । मिश्रसहित अन्य दुई न्यायाधीश सम्मिलित पूर्ण इजलासले न्यायपरिषदका पदाधिकारीहरू विपक्षी भएको मुद्दामा आदेश गरेको हो ।


सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका हैसियतले न्यायपरिषदका सदस्य रहेका मिश्रसमेत उक्त मुद्दाका विपक्षी हुन् । आदेश गर्ने इजलासको नेतृत्व उनैले गरेका हुन् । आफूले हेर्न नमिल्ने मुद्दा दुईपटक आफ्नै नेतृत्वको इजलासमा पर्दा समेत आफूबाहेकको इजलासमा तोक्न आदेश नदिई संवैधानिक इजलासमा पठाउन आदेश गरेका हुन् । यसले थप जटिलता निम्त्याउने र निष्पक्ष न्याय सम्पादनमा प्रश्न उठ्ने भएको छ । किनभने संवैधानिक इजलासका दुई वरिष्ठ सदस्य नै उक्त मुद्दाका विपक्षी छन् । यसले फेरि पनि आफैं विपक्षी भएको मुद्दा आफैंले सुनुवाइ गर्ने परिस्थिति उत्पन्न भएको छ ।


तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको पालामा भएको उच्च अदालतमा ८० न्यायाधीश नियुक्तिका क्रममा प्रक्रिया मिचिएको भन्दै परेका निवेदन सर्वोच्चमा विचाराधीन थिए । नियुक्तिमा संलग्न नभएका एक पूर्वन्यायाधीशका अनुसार, आफैं विपक्षी भएको मुद्दाको सुनुवाइ गरी कुनै पनि आदेश गर्नु न्यायको सर्वमान्य सिद्धान्तविपरीत हो । ‘नेपालको न्यायसम्बन्धी अधिकार, संविधान, अन्य कानुन र न्यायका मान्य सिद्धान्तबमोजिम अदालत र न्यायिक निकायबाट न्याय निरूपण गरिनेछ’ संविधानको धारा १२६ उद्धृत गर्दै ती पूर्वन्यायाधीशले भने, ‘आफैं जोडिएको मुद्दामा आफैं न्यायाधीश हुनु प्राकृतिक न्यायको आधारभूत सिद्धान्तविपरीत हुन्छ ।’


२०७४ चैत १ गतेदेखि ओमप्रकाश मिश्र न्यायपरिषदको सदस्य बनेपछि समेत सर्वोच्चले उक्त मुद्दा दुईपटक मिश्रकै इजलासमा तोकेको देखिन्छ । चैत ८ गते समेत उनकै इजलासमा मुद्दाको पेसी तोकियो । त्यो दिनसमेत न्यायाधीश मिश्रले आफू न्यायपरिषदको सदस्य भएका कारण ‘मुद्दा हेर्न नमिल्ने’ भनी अन्य इजलासमा तोक्न आदेश दिएनन् । बिहीबार पनि आफैं संलग्न भई संवैधानिक परिषद्मा पठाउन सिफारिससहितको आदेश दिए ।


विषयवस्तु र मुद्दाको जटिलताका कारण संवैधानिक परिषद्मा पठाउने आदेश दिएको पूर्ण इजलासले ‘८० न्यायाधीश नियुक्तिका क्रममा न्यायपरिषदका सबै पदाधिकारी उपस्थित भएको नदेखिएको’ भनी प्रारम्भिक टिप्पणी गरेको छ । आदेशमा न्यायपरिषद् संविधानको अधीनमा रही समानुपातिक समावेशी सिद्धान्तबमोजिम नियुक्ति गर्ने व्यवस्थाबारे मौन रहेको भनी व्याख्या गरेको छ । आदेशमा भनिएको छ, ‘न्यायाधीश नियुक्तिको विषयमा सिद्धान्त कायम हुन सान्दर्भिक र उपयुक्तसमेत हुने भएकाले संवैधानिक इजलासबाट निरूपण हुन
उपयुक्त हुने ।’


८० न्यायाधीश नियुक्तिका सन्दर्भमा अधिवक्ता, सरकारी वकिललगायतले ५ वटा छुट्टाछुट्टै रूपमा दर्ता गरेको निवेदन सर्वोच्चमा विचाराधीन थियो । सरकारवादी मुद्दाकै प्रतिरक्षा गर्नुपर्ने सरकारी वकिलहरूले रिट निवेदन दिएका कारण सरकारी वकिलबाट निष्पक्ष प्रतिरक्षामा समेत प्रश्न उठेको थियो । अर्को विवादास्पद अवस्था छ के छ भने त्यतिबेलाका रिट निवेदकमध्येकै एक रहेका तत्कालीन सह–न्यायाधिवक्ता राजन भट्टराई सर्वोच्च अदालतमा हाल मुख्य रजिस्ट्रारसमेत छन् । सर्वोच्च अदालत स्रोतले भन्यो, ‘तत्कालीन रिट निवेदक नै पेसी व्यवस्थापनमा सहयोगी हुने न्याय प्रशासनको नेतृत्वमा रहेपछि कसरी निष्पक्ष सुनुवाइको अपेक्षा गर्ने ?’ उच्च अदालतका ८० न्यायाधीश नियुक्तिको विवाद सर्वोच्चका पूर्ववर्ती दुई प्रधानन्यायाधीशको अहंमा कारणसमेत प्रभावित भएको देखिन्छ । तत्कालीन न्यायाधीश गोपाल पराजुली वरिष्ठतम न्यायाधीशका रूपमा न्यायपरिषदको सदस्य बन्नुभन्दा एक दिनअघि निर्णय भएको थियो । पछि प्रधानन्यायाधीश भएका पराजुलीले सुशीला कार्कीको कार्यकालमा भएको निर्णय उल्ट्याउने प्रयासस्वरूप मुद्दाको पेसी व्यवस्थापन गर्दै आएका थिए । यसले गर्दा उच्च अदालतमा कार्यरत ८० न्यायाधीशले १८ महिनादेखि मुद्दा झेल्दै आएका छन् । न्यायाधीशहरूले लामो समयदेखि मुद्दामामिला झेल्दा निष्पक्ष न्याय सम्पादनसमेत प्रभावित हुने ठानिन्छ ।


‘जिल्लादेखि सर्वोच्च जुनसुकै किन नहोस्, न्यायाधीशले मुद्दा खेप्नु र उक्त मुद्दा लामो समयदेखि टाउकोमाथि झुन्डिनु उनीहरूको निष्पक्ष न्यायसम्पादनलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रभावित पार्नु नै हो,’ सर्वोच्च स्रोतले भन्यो, ‘तत्कालीन प्रधानन्यायाधीश कार्कीमाथिको प्रतिशोधका कारण गोपाल पराजुलीले जे रणनीति अपनाएका थिए, अहिले पनि त्यही समस्या ८० न्यायाधीशहरूले बेहोरिरहेका छन् ।’


पराजुलीले सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा ८० न्यायाधीश सिफारिसको मुद्दा पेसी तोकेका थिए । गत मंसिर १४ मा नै हेर्दाहेदै अवस्थामा रहेको उक्त मुद्दा माघ ११ गतेका लागि निर्णय सुनाउने मिति तोकिएको थियो । त्यसपछि ४ पटक सरेको मुद्दामाथि बिहीबार संवैधानिक इजलासमा पठाउन सिफारिस गर्ने आदेश भएको हो ।


न्याय सेवाअन्तर्गतका सरकारी वकिल समूहका तीन विशिष्ट श्रेणीका अधिकारीहरू र एक सहसचिवले सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए । उनीहरूले प्रधानन्यायाधीश, न्यायपरिषद्का सदस्यहरू र विभिन्न उच्च अदालतमा नियुक्त भएका ८० न्यायाधीशहरूलाई विपक्षी बनाएका थिए । नायब महान्यायाधिवक्ताहरू दुर्गाबन्धु पोखरेल, बद्रीप्रसाद गौतम, बेपत्ता आयोगका तत्कालीन सचिव राजनप्रसाद भट्टराई र सह–न्यायाधिवक्ता गणेशबन्धु अर्यालले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । यीमध्ये पोखरेलले अवकाश पाइसकेका छन् भने भट्टराई सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार छन् । अर्याल नायब–महान्यायाधिवक्तामा बढुवा भएका छन् ।

Page 3
समाचार

डा. केसीको स्वास्थ्य जटिल

जीवन रक्षा गर्न र वार्ता टोली पठाउन माग
- एलपी देवकोटा
डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै जुम्लामा बिहीबार गरिएको प्रदर्शन । तस्बिर : एलपी

जुम्ला– तेह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको चाल तल–माथि भइरहेको छ, बोल्न सक्ने अवस्थामा छैनन् ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाका अनुसार केसी हातखुट्टासमेत चलाउन नसक्ने अवस्थामा पुगेका छन् । ‘उहाँ बेडबाट उठ्न सक्ने अवस्थामा हुनुहुन्न,’ उनले भने, ‘संक्रमणबाट बचाउन हामीलाई चुनौती भइरहेको छ । मुटुको चाल तल–माथि भइरहेकाले कतिखेर के हुने हो, थाहा छैन ।’ जतिखेर पनि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएको उनले जानकारी दिए । उनका अनुसार केसीको रोगसँग लड्ने क्षमता कमजोर बन्दै गइरहेको छ । मांसपेसी सुन्निने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्नेलगायत समस्याले उनी ग्रस्त छन् ।

चिकित्सक टोलीले बिहीबार साँझ सार्वजनिक गरेको स्वास्थ्य प्रतिवेदनअनुसार डा. केसीको छातीको बीच भागमा दुखाइ बढेको छ भने रगतमा सेतो रक्तकोशिकाको मात्रा घट्दै गएको छ । स्वास्थ्य जटिल बन्दै गए पनि केसीले आवश्यक औषधि लिन नमानेको प्रतिवेदनमा जनाइएको छ ।


उनको स्वास्थ्य जटिल बन्दै गएपछि विभिन्न अधिकारवादी संघसंस्था र स्थानीय तहका जनप्रतिनिधिले सरकारसँग जीवन रक्षाको माग गरेका छन् । केसीका माग तत्काल सम्बोधन गरी उनको जीवन रक्षा गर्न माग गर्दै बिहीबार खलंगामा मानव अधिकार संगठनको अग्रसरतामा प्रदर्शन गरिएको छ भने चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालले पत्रकार सम्मेलन गरेर केसीका मागप्रति सकारात्मक बन्न सरकारसँग आग्रह गरेकी छन् । संगठनले कृष्ण मन्दिरमा कोणसभा र अस्पतालमा धर्ना कार्यक्रम आयोजना गरेको थियो ।
स्थानीय महिलाले समेत डा. केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन गरेका छन् । चन्दननाथकी नगर प्रमुख सेजुवालले तत्काल वार्ता टोली जुम्ला पठाउन सरकारसँग माग गरिन् । आफ्नो नगरपालिकाभित्र कुनै व्यक्तिको अनशनमै बसेको अवस्थामा मृत्यु हुने अवस्था आउँदा टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताइन् ।

 

निकास दिन संघको आग्रह
काठमाडौं (कास)– नेपाल चिकित्सक संघका प्रतिनिधिले नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत विभिन्न पार्टीका शीर्ष नेतासँग भेटेर डा. गोविन्द केसीको आमरण अनशनमा देखिएको ‘डेड लक’ अन्त्य गर्न आग्रह गरेका छन् । ‘हामीले दाहाललाई हाल देखिएको डेड लकको स्थिति अन्त्य गर्न आग्रह गरेका छौं,’ चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने । उनका अनुसार दाहालले चिकित्सक संघको टोलीकै अगाडि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई फोन गरेर चाँडै निकास निकाल्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीसँग पनि कुरा गरेर निकास निकाल्ने प्रतिबद्घता उहाँले जनाउनुभएको छ,’ डा. कार्कीले भने ।


संघको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहसँग पनि डा. केसीको आन्दोलन र मागबारे छलफल गरेको थियो । ‘देउवाले आज (बिहीबार) विधेयक आउने कुरा छ तर हामीले डा. केसीसँग सल्लाह नगरी दर्ता नगर्न सभामुखलाई भनेका छौं भन्नुभयो,’ कार्कीले भने । उनका अनुसार कांग्रेस शीर्ष नेताहरूले वर्तमान घटनाक्रमप्रति संवेदनशील रहेको जनाउँदै निकासका लागि पहल गर्ने बताएका छन् । विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापा तथा रवीन्द्र मिश्रले पनि चिकित्सक टोलीसँग डा. केसीका माग पूरा गराउन सक्रिय रूपमा लागिरहेको बताएका थिए ।

समाचार

सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– शेरबहादुर देउवा नेतृत्वको सरकारमा भएको राजनीतिक नियुक्ति उल्टाउने क्रममा पदमुक्त भएका दुई पदाधिकारीलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निक्षेप कर्जा सुरक्षा कोषका प्रमुख कार्यकारी अध्यक्ष विष्णुबाबु मिश्र र दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।


सर्वोच्चले मिश्रको निवेदनमा साउन २ र झाको निवेदनमा साउन ३ गते छलफलका लागि बोलाउँदै त्यतिन्जेल बर्खास्तीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

 

Page 4
वाग्मती प्रदेश

दुर्गम जाँदै बैंक

७३ स्थानीय तहमा छैनन् बैंक
इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवा प्रवाहमा समस्या
- प्रताप विष्ट

कैलाश (मकवानपुर)– मुलुकको पुनर्संरचनापछि स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार गर्नुपर्ने सरकारको नीतिअनुसार मकवानपुरका दुर्गम स्थानमा बैंक शाखा विस्तार हुन थालेका छन् ।


मकवानपुरको दुर्गम कैलाश गाउँपालिकाको केन्द्र रहेको कालिकाटारमा बिहीबार सानिमा बैंकको शाखा स्थापना गरिएको छ । बैंकले वित्तीय कारोबार बिहीबारदेखि नै सुरु गरेको छ । इन्टरनेट सेवा भरपर्दो नहुने भएकाले सेवा प्रवाह गर्न समस्या भएको बैंैकका शाखा प्रबन्धक सञ्जीवकुमार शाहले बताए ।


गाउँपालिका अध्यक्ष टंक मोक्तानले बैंकको उद्घाटन गर्दै ‘इन्टरनेटको भरपर्दो सेवा नभएकाले स्थानीयले समस्या भोग्नुपरेको’ दाबी गरे । दुर्गम गाउँमा बैंक स्थापना भएपछि सरकारी, गैरसरकारी, स्थानीय तह र गाउँपालिकाका बासिन्दालाई वित्तीय कारोबार गर्न सहज हुने भएको छ ।


चेपाङ समुदायको बाहुल्य रहेको गाउँपालिकामा स्थानीय यो पहिलो बंैक हो । बैंकको उद्घाटन कार्यक्रममा सानिमा बैंक हेटांैडाका प्रबन्धक रामेश्वर खतिवडाले दुर्गम गाउँका बासिन्दालाई सेवा उपलब्ध गराउन कालिकाटारमा बैंकको शाखा स्थापन गरेको दाबी गरे । ‘कालिकाटारमा बैंक स्थापना भएपछि ससाना वित्तीय कारोबार गर्न पनि हेटौंडा धाउनुपर्ने बाध्यताको अन्त्य भएको’ गाउँपालिका अध्यक्ष मोक्तानले जनाए । मकवानपुरमा १० स्थानीय तह छन् । त्यसमध्ये राक्सिराङ गाउँपालिकाबाहेक अन्यमा बैंक शाखा स्थापना भइसकेका छन् । राक्सिराङ गाउँपालिको केन्द्र चैनपुरमा प्रहरीचौकी नभएकाले बैंकले शाखा स्थापना गर्न मानिरहेका छैनन् । प्रदेश–३ का १ सय १९ स्थानीय तहमध्ये अझै ७३ वटा स्थानीय तहमा बैंक पुगेका छैनन् । स्थानीय तहको कारोबार गर्न नेपाल सरकारले ‘क’ वर्गको बंैकलाई तोकेको भए पनि गाउँमा बैंक नपुग्दा अझै सदरमुकाम धाउने बाध्यता छ ।


स्थापना भएका अधिकांश बंैकमा पनि रेमिटयान्स सेवा लिनेको भीड हुने गरेको छ । बकैया गाउँपालिकाको सेञ्चुरी बैंकका अनुसार दैनिक ७० देखि ८० जनाले रेमिटयान्स सेवा लिने गरेका छन् । बैंकका अनुसार मासिक करिब १ करोड रुपैयाँ रेमिटयान्स भित्रिने गरेको छ । मनहरी गाउँपालिकामा पनि ‘क’ वर्गको सांग्रिला विकास, महालक्ष्मी विकास
र प्रभु विकास बैंकमा स्थापना भइसकेका छन् । मकवानपुरगढी गाउँपालिका पनि नेपाल बंगलादेश बैंक स्थापना भइसकेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा बंैक अफ काठमान्डू स्थापना भइसकेको छ । मकवानपुरको वाग्मती र कैलाश गाउँपालिका बंैक शाखाहरूलाई इन्टरनेट गुणस्तर नभएकाले वित्तीय कारोबार गर्न कठिनाइ भएको जनाएका छन् ।

वाग्मती प्रदेश

अध्ययन समिति गठनविरुद्ध मुद्दा

- नगेन्द्र अधिकारी

हेटौंडा– प्रदेश राजधानी सम्भाव्यता अध्ययन समिति गठन गर्ने प्रदेशसभाको निर्णयविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्दा परेको छ । प्रदेश सरकार, मुख्यमन्त्री, सभामुख, प्रदेशसभा, सम्भाव्यता अध्ययन समिति, विपक्षी दलका नेता र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई विपक्षी बनाएर अधिवक्ता धु्रवप्रसाद चौलगाईंले रिट दायर गरेका हुन् । उक्त रिटको निवेदनमा न्यायाधीश चिन्तामणि बरालको एकल इजलासले विपक्षीलाई कारण देखाउ आदेश जारी गरेको छ ।


हेटौंडालाई नै राजधानीको लागि दाबी गरिएको रिट निवेदनमा २०७५ वैशाख १४ गते गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समिति गठन गर्ने गरी भएका निर्णय र सो सम्बन्धमा भएका सबै काम कारबही बदर गर्न माग गरिएको छ । ‘प्रदेश राजधानीको सम्बन्धमा ३ नं प्रदेश सभासदले नै निर्णय गर्ने संवैधानिक व्यवस्था भएकोले संविधानको धारा २८८ (२) बमोजिम प्रदेशसभाले देश, काल, परिस्थिति, संघीयताको मर्मअनुरूप हेटौंडामा राजधानी तोकिएपछि भएको ५० औं करोड खर्च गरी भएको पुर्वाधारलाई ख्याल गरी अगाडि बढ्नुपर्नेमा अशान्ति सिर्जना हुने गरी कार्यहरू भइरहेकोले यस्तो काम नगर्न नगराउन र आम नागरिकको मौलिक हकमा आघात पर्ने काम नगर्नु नगराउन’ भनी विपक्षीको नाममा उत्प्रेषण परमादेशलगायत उपयुक्त आदेश वा पुर्जी जारी गर्न माग गरिएको छ ।


न्यायाधीश बरालको एकल इजलासबाट ‘यसमा के कसो भएको हो, निवेदनको मागबमोजिमको आदेश किन जारी गर्नु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुत प्रमाणसहित’ १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीको नाममा कारण देखाउ आदेश जारी भएको हो । प्रदेशसभाले गठन गरेको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले असार २६ गते काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्त भन्दै वर्णानुक्रम अनुसार राजधानीका लागि सिफारिस गरेको थियो ।


समितिकै प्रतिवेदन सभामा पेस भएपछि संविधानअनुसार नै दुई तिहाइ बहुमतबाट निर्णय हुनेछ । रिट निवेदनमा अदालतले कारण देखाउ आदेश जारी भएकोले राजधानीबारे टुंगो लाग्न केही समय लाग्ने भएको छ । विपक्षीले लिखित जवाफ दिएपछि मात्रै सुनुवाइ सुरु हुने अदालतले जनाएको छ ।

वाग्मती प्रदेश

बागदरबार जोगाउन गुहार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ऐतिहासिक बागदबार काठमाडौं महानगरले मास्न लागेको भन्दै त्यसलाई जोगाउन प्रधानमन्त्री केपी ओलीलगायत निकायमा सम्पदाप्रेमीले गुहारेका छन् । बागदरबार मास्न पुरातत्त्व विभागले काठमाडौं महानगरपालिकालाई दिएको अनुमतिपत्रलाई विज्ञहरूले दुराशयपूर्ण भनेका छन् । कुनै कालखण्डको महत्त्व दर्साउने सम्पदालाई जोगाउनुपर्ने निकायले भत्काउने अनुमति दिएकामा उनीहरूले आपत्ति जनाएका हुन् ।


‘बागदरबार भत्काउन रोक्न पुरातत्त्व विभाग आफैंले पत्र पठाएको छ,’ पुरातत्त्वविद् भीम नेपाल भन्छन्, ‘फेरि किन भत्काउने अनुमति दियो ? यो पत्रमा विभागको दुराशय देखिन्छ । बागदरबार भत्काउन हुँदैन ।’ बागदरबार नभत्काउन विभाग आफैंले दिएको निर्देशनलाई काट्ने गरी काठमाडौं महानगरपालिकालाई भत्काउन अनुमति दिएको थियो ।


महानगरले बागदरबार भत्काउन २०७४ भदौ २२ मा बोलपत्र आह्वान गरिसेको थियो । पहिलाको बोलपत्र रद्द गरी पुन: अर्काे आह्वान गर्ने तयारी गरेको महानगरपालिकाले जनाएको छ । महानगरले तोकेको समयभित्र कम्पनीका बोलपत्र आह्वान भएका थिए । यससम्बन्धी समाचार सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । विरोध भएपछि यसलाई भत्काउन पुरातत्त्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रोक लगाएका थिए ।


रोकिएको झन्डै १० महिनापछि विभागले फेरि भत्काउन अनुमति दिएपछि विज्ञहरूले चासो राखेका हुन् । ‘पहिला किन रोक्यो ?’ सम्पदा अभियन्ता सञ्जय अधिकारी भन्छन्, ‘अहिले फेरि किन दियो ? सम्पदा जोगाउने निकायले यसरी आफूखुसी गर्न पाइन्छ ?’ पहिला रोकेको विभागले अहिले प्राचीन स्वरूप नमासिने गरी, प्राचीन निर्माण सामग्री प्रयोग गर्ने गरी निर्माण गर्न अनुमति दिएको छ ।


‘भवनको मौलिक स्वरूपमा परिवर्तन नगरी परम्परागत निर्माण सामग्री प्रयोग गरी, प्राचीन स्मारक संरक्षण ऐन २०१३, प्राचीन स्मारक संरक्षण नियमावली, कार्यविधि, निर्देशिकाअनुसार भत्काउँदा प्राप्त भएका पुन: प्रयोगमा आउन सक्ने सामग्रीहरूको विस्तृत डकुमेन्टेसन तयार पारी उपयुक्त सामग्री प्रयोग गर्ने गरी बागदरबार पुनर्निर्माण गर्ने सहमति प्रदान गर्नेसम्बन्धी विभागीय निर्णयअनुसार कार्य गर्न गराउनु हुन अनुरोध गर्दछु,’ विभागका संग्रहालय अधिकृत पुरुषोत्तम आचार्यले चलानी नं. २६०१ मा लेखेको पत्रमा उल्लेख छ ।

वाग्मती प्रदेश

प्रभावकारी बन्दै चुरे संरक्षण

- कान्तिपुर संवाददाता
मकवानपुरको वकैया गाउँपालिकाको छतिवनस्थित बकैया खोलामा निर्माण गरिएको तटबन्ध । तस्बिर : कान्तिपुर 

हेटौंडा– चुरे क्षेत्र संरक्षण गर्न गठित राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको प्रभाव देखिन थालेको छ । विशेषगरी बकैया नदी प्रणाली संरक्षण कार्यक्रम मकवानपुरमा सञ्चालन गरिएपछि यसको प्रभावकारिता बढेको हो ।


जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय हेटौंडा, जिल्ला वन कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय, वनस्पति कार्यालयले राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमअन्तर्गत बकैया नदी प्रणाली कार्यक्रम विगत ३ वर्षदेखि प्रभावकारी ढंगले संरक्षण गर्दै आएका छन् । चुरेको खहरेबाट अत्यन्त प्रभावित बकैया गाउँपालिका र हेटांैडा उपमहानगरमा पर्ने हर्नामाडी र हटियाका विभिन्न भागमा तटबन्धन गरेर बस्तीलाई बचाउनको साथै खहरेबाट हुने जमिन कटानलाई रोकेको छ ।


जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय हेटांैडाले छत्तिवनस्थित बकैया खोला नियन्त्रण गर्न छतिवन–४ रमनटारमा २ सय ९० मिटर लामो तटबन्धन निर्माण गरेको छ । नयाँ स्परहरू निर्माण गर्नुको साथै पुरानो मर्मतसम्भार पनि गरेको छ । तटबन्धनले रमनटारको ५० घरधुरीको संरक्षण गर्नुको साथै ७५ बिगाभन्दा बढी ऊर्वरा जमिनको कटानलाई रोकेको छ । यसैगरी छतिवन ८ कर्मचुलीमा बकैया नदीको नियन्त्रण गर्न २ सय २० मिटर लम्बाइ रहेको तटबन्धन निर्माण गरेको छ । ‘यो तटबन्धनले कर्मचुलीको सिंगो बस्ती जोगाउनुको साथै सय बिगाभन्दा बढी ऊर्वरा जमिनको संरक्षण गरेको छ,’ जल उत्पन्न प्रकोप व्यवस्थापन हेटांैडाका प्रमुख मनोहर रिजालले भने, ‘बकैया नदी प्रणालीको संरक्षण कार्यक्रमले छतिवनका धेरै बस्ती र ऊर्वरा जमिनलाई संरक्षण गर्न सफल भएको छ ।’ जल उत्पन्नले प्रकोप व्यवस्थापन हेटौंडाले यस चालु आवमा छतिवन–४ हात्तीखोलामा २ सय २५ मिटर निर्माण गरेको छ भने बकैया खोलाको शिर देउता खोलामा पनि तटबन्धन निर्माण गरेको छ । चालु आवमा जलउत्पन्नले बकैया नदी प्रणाली संरक्षण कार्यक्रमअन्तर्गत ३ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ ।


गत आर्थिक वर्षमा छतिवनको ८ र ९ को बस्ती सुकौरा खोलाको दायाँबायाँ तटबन्ध गरेर बस्तीलाई संरक्षण गरेको थियो । बस्ती मात्र होइन, सयांै बिगा जमिन कटानबाट जोगाएको थियो । राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमबाट जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले सुकौरा खोलाको दायाँबायाँ एक हजार २ सय ८ मिटर लामो तटबन्ध निर्माण गरेकाले छतिवन गाविस ९ को जुइना, जुनेली बस्तीका ६२ घर सुरक्षित हुुनको साथै करिब सय बिगा जमिन जोगिएको थियो । ‘गत वर्ष यतिको लामो र करिब ५ मिटर अग्लो तटबन्धन निर्माण नगरेको भए गत वर्षकै बाढीले जुइनाको बस्ती बगाउन सक्थ्यो,’ स्थानीयवासी धनबहादुर माझीले भने, ‘यो तटबन्धले बस्तीको साथै कमाइखाने जमिन जोगाएको छ ।’ १ करोड १८ लाखको लागतमा निर्माण गरिएको तटबन्धनमा ६ सय ६६ मिटर जालीमा ढुंगा भर्ने काम गरिएको थियो भने ७ वटा स्पर पनि निर्माण गरिएको छ । बस्ती र ऊर्वरा जमिन अहिले सुरक्षित भएको छ । विगतमा सुकौरा खोलाको खहरे छतिवन गाविस ८ र ९ को निम्ति अभिसापको रूमा रहँदै आएको थियो । यसैगरी भूसंरक्षण कार्यालयको पहलमा साविकको चुरियामाई गाविस ३ र ५ हाल हेटांैडा उपमहानगरपालिका १७ र १८ मा पर्ने रातोमाटेमा पर्ने ७ किलोमिटर लामो खहरेलाई नियन्त्रण गर्ने कार्य भएको छ । स्थानीय बासिन्दाको पहलमा विगत एक दशकदेखि नै उक्त खहरे नियन्त्रण गर्न पहल भइरहेको थियो । विगत चार वर्षदेखि भूसंरक्षण कार्यालयले खहरे रोकथाम गर्न चेकडयाम निर्माण गर्नुको साथै तटबन्धन निर्माण गरेको छ । उक्त खहरेमा ढुंगा र गिट्टी उत्खननको चाप अत्यधिक रहेकाले खहरेले धार बदल्ने गरेको छ । तराई तथा भित्री मधेसको पानीको मुहान र तराईको खाद्य भण्डारको सरक्षण गर्न सरकारले विशेष कार्यक्रमअन्तर्गत राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम ल्याएको हो । १ सय २० मिटरदेखि २ हजार मिटर उचाइमा रहेको कमलो र कान्छो पहाड चुरेको क्षेत्रको संरक्षण गर्न नसकेमा तराई मरुभूमिमा परिणत हुने खतरा रहेको छ । मकवानपुरका साविकका १० गाविस र हेटौंडा उपमहानगरपालिका केही वडा चुरे क्षेत्रबाट प्रभावित छन् । पातलो र खुकुलो माटो रहेको चुरेको खहरेले बर्सेनि मकवानपुरका सयभन्दा बढी बिगा जग्गा र दुई दर्जनभन्दा बढी घर बगरमा परिणत गर्दै आएको छ । यस क्षेत्रमा २ सयभन्दा बढी चुरेका खहरे छन् ।

Page 5
Page 6
सम्पादकीय

मौद्रिक नीतिको बजारमा असर

- कान्तिपुर संवाददाता

राष्ट्र बैंकले तरलतामा प्रभाव पार्नेदेखि वित्तीय सुशासन र विस्तारका कार्यक्रमसम्म समेटिएको मौद्रिक नीति सार्वजनिक गरेको छ । पछिल्लो समय आम सर्वसाधारणदेखि उद्योगी–व्यवसायीसम्मलाई मौद्रिक नीतिले छुन थालेको छ । यसपटक मौद्रिक नीतिमार्फत ब्याजदर अस्वाभाविक रूपमा बढ्न नदिएर वाञ्छित सीमामा राख्ने भरपूर प्रयास भएको देखिन्छ । बजारमा तरलता बढाउन विभिन्न कार्यक्रम सार्वजनिक गरिएकाले ब्याजदर घट्ने संकेत देखिएको छ । बैंक तथा वित्तीय संस्थाले ब्याज नपाउने गरी राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद अनुपात (सीआरआर), वैधानिक तरलता सुविधा (एसएलआर) र निक्षेप तथा कर्जा बीचको ब्याजअन्तर (स्प्रेड) नीतिमार्फत घटाइएको छ । ती नीतिले बजारमा तरलता बढाउनुका साथै कोषको लागत (कस्ट अफ फन्ड) घटाउने भएकाले आधार ब्याजदर (बेस रेट) मा कमी आउँछ । बैंक लागतका आधारमा निर्धारण गरिने आधार ब्याजदर घटेपछि ऋणको ब्याजदर पनि घट्नुपर्छ ।


बैंक तथा वित्तीय संस्थाले न्यूनतम ४ प्रतिशत मात्र सीआरआर कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सीआरआर घटाएकै कारण तत्काल करिब ५० अर्ब रुपैयाँ बैंकहरूलाई उपलब्ध हुनेछ । उक्त रकम बैंकले मुनाफा आउने क्षेत्रमा लगानी गर्न सक्छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) को सीमा घटाइएको छ । यसले पनि बैंकहरूको लागत घटाउन सघाउँछ । वाणिज्य बैंकहरूले निक्षेप र कर्जाबीचको ब्याज अन्तर (स्प्रेड) बढीमा साढे ४ प्रतिशत मात्र राख्न पाउने व्यवस्था
गरिएको छ । यो व्यवस्थाले बैंकहरूलाई कम्तीमा पनि ०.५ प्रतिशत विन्दुले ब्याज घटाउन दबाब पर्छ । यस्तै, बैंकहरूले संस्थागत मुद्दती निक्षेपमा प्रकाशित ब्याजदरमा १ प्रतिशत मात्र थप गर्न पाउँछन् । यो व्यवस्थाले पनि ब्याजदर अस्वाभाविक रूपमा बढ्न दिँदैन ।


मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउन र दीर्घकालीन ऋणपत्र जारी गरी वित्तीय साधन परिचालनमा प्रोत्साहन गरेको छ । यो व्यवस्थाले सरकारले तय गरेको महत्त्वाकांक्षी आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आवश्यक पर्ने पुँजी जुटाउन सहयोग पुग्नेछ । मौद्रिक नीतिमार्फत व्यक्तिगत ओभरड्राफ्टमा कडाइ गरिएको छ । यो शीर्षकमा प्रवाह भएको ९० प्रतिशतभन्दा बढी रकम घरजग्गा र सेयर लगानी हुँदै आएको थियो । अनुत्पादक क्षेत्रमा गएको लगानी निरुत्साहित गरी उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार गर्ने उद्देश्यले ल्याइएको यो व्यवस्थाले आर्थिक वृद्धिमा सघाउनेछ । व्यक्तिगत ओभरड्राफ्टमा भएको कडाइले सेयर बजार र घरजग्गामा लगानी घट्ने भएकाले अर्थतन्त्रका लागि सकारात्मक प्रभाव पर्छ । वाणिज्य बैंकहरूले आफ्नो कुल कर्जाको न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा र ऊर्जा तथा पर्यटन क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यो व्यवस्थाले तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्न सरकार कटिबद्ध भएको देखिन्छ ।


पुँजी बजारको सम्बन्धमा भने मौद्रिक नीति खासै सकारात्मक देखिएन । नीतिले मार्जिन कलको सीमा बढाए पनि सेयरको धितोमा प्रवाह हुने कर्जाको सीमा घटाएको छ । यो व्यवस्था सेयर बजारका लागि केही प्रतिकूल हुन सक्छ । तर, यसले उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तारमा सहयोग पुग्छ । तर, अपेक्षित उपलब्धि हासिल गर्न ती नीतिहरूको सफल कार्यान्वयन हुनुपर्छ । मौद्रिक नीतिमा केही कमजोरी छन् । संस्थागत सुशासन, संस्थागत क्षमता अभिवृद्धि, प्रभावकारी नियमन तथा सुपरिवेक्षणको सवालमा नयाँ केही छैन । नीतिमा बैंक तथा वित्तीय संस्थालाई संघीय संरचनाअनुसार कार्यसञ्जाल बनाउन निर्देशन दिइएको छ । तर, संघीयतामा राष्ट्र बैंकको कार्यप्रणालीबारे केही उल्लेख छैन । स्थानीय तहमा शाखा खोल्ने बैंकहरूलाई सीआरआर र एसएलआरमा छुट दिइएको छ । यो अन्तर्राष्ट्रिय अभ्यास र बैंकिङको सामान्य सिद्धान्तविपरीत हो । सीआरआर बचतकर्ताको निक्षेपको सुरक्षासँग जोडिएको विषय हो । निक्षेपको सुरक्षासँग सम्झौता गर्ने अधिकार कसैलाई छैन । यसकारण लोकप्रियताका नाममा यस्ता नीतिले दीर्घकालीन रूपमा अर्थतन्त्रलाई राम्रो गर्दैन । यसबारेमा राष्ट्र बैंक सचेत र चनासो बन्नुपर्छ ।


वित्तीय क्षेत्रको विकास र विस्तारसँगै राष्ट्र बैंकको क्षमता अभिवृद्धि हुन सकेको छैन । वित्तीय संस्थाले वास्तविक वित्तीय विवरण लुकाउने गरेको र त्यसमा केन्द्रीय बैंकको पहुँच नपुग्नेबारे आलोचना भइरहेको छ । नियमन तथा सुपरिवेक्षण प्रभावकारी हुन सकेको छैन । बैंक वित्तीय संस्था विशेषगरी सर्वसाधारणको बचत र लगानीबाट चलेका हुन्छन् । यी संस्थामा सुशासन रहन सकेन भने सर्वसाधारणको रकम जोखिममा पर्छ । यसतर्फ पनि नियामक निकाय राष्ट्र बैंक चनाखो बन्नुपर्छ ।

दृष्टिकोण

प्रधानमन्त्रीका अशोभनीय अभिव्यक्ति

प्रधानमन्त्री ओलीले शोभनीय बोलून्, सत्याग्रहको संवेदना बुझून्, यो देशले यही कामना गरिरहेको छ ।
- श्रीकृष्ण अनिरुद्ध गौतम


प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले डाक्टर गोविन्द केसीको अनशनबारे बोल्दा कसैको उक्साहटमा केसी भोकै सुतेको भने । यी हरफ लेखिँदै गर्दा केसी जुम्लामा अनशनरत छन्, उनलाई काठमाडौं ल्याउने प्रयत्न भइरहेको छ । उनी मानिरहेका छैनन् । मान्न सक्छन्, नमान्न सक्छन् । तर यी पंक्तिमा चर्चा गर्न खोजिएको विषय केसीको अनशनमात्र होइन, सत्ताको प्रवृत्तिसँग गाँसिएका अहंकार र दम्भजस्ता विषय हुन् । सत्तामा पुग्नासाथ मान्छे किन मात्तिन्छ, उसको हाउभाउमा नै किन धेरै फरक पर्छ, यी धेरैका मनमा उठ्ने प्रश्न हुन् । धेरैले महसुस गरिआएका विषय हुन् ।


त्यसैले ओलीले केसीको सत्याग्रही अनशनलाई किन उक्साहट भने ? गंगामाया अधिकारीका याचनाप्रति उनी किन उदासीन छन् ? उनी अचेल छोइनसक्ना कुरा गर्छन्, यसलाई अथ्र्याउन यो चर्चालाई अर्को कोणमा मोड्नुपर्छ । मित्रवत परामर्शलाई गिज्याउँछन्, निहित स्वार्थीसँग अंकमाल गर्छन्, मित्रसँग शत्रुवत र आफ्नै शत्रु स्वभाव भने उनलाई प्रिय भएको छ । यहाँ ओली विषय हुन्, तर यो प्रश्न सार्वकालिक हो । यसको सटिक उत्तर भने आफू सत्तासिन भइरहेकै बेला भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीले दिएका थिए । उनी भन्ने गर्थे, ‘सत्ताको चरित्र उन्मत्तता हो, यो तामसी हुन्छ । हामी सत्तामा छौं, यतिखेर । त्यसैले हामीले सत्ताको यो प्रवृत्ति थाहा पाइराख्नुपर्छ । होश गुमाउनु हुँदैन । हामीले तामसी प्रवृत्तिलाई जित्दै सात्विक भावले देशको सेवा गर्नुपर्छ ।’


फेरि ओलीतर्फै फर्कौं । उनलाई कम्तीमा यति त ज्ञात हुनैपर्छ, उक्साहटमा मान्छे एक–दुई छाक भोकै बस्न सक्छ, दसौं–बीसौं दिन भोकै बस्दैन । ओली भोकको अनुभव नभएका मान्छे होइनन् । दुई छाक भोकै बस्नुपर्‍यो भने भुँडी कति बटारिन्छ, त्यो उनलाई थाहै होला । किनभने अति निम्न आय वर्ग पृष्ठभूमिका भएकाले बाल्यकालदेखि २०४६–४८ सालसम्म कति दिन कति रात उनले भोकभोकै बिताउनुपरेको थियो, उनलाई यसको स्मरण नहुने प्रश्नै छैन, पक्कै छ । यद्यपि निराहार व्रत बस्ने गरेका मानिसलाई पनि थाहा हुन्छ, भोकै बस्नु के हो । तर ओली नास्तिक भएकाले उनलाई व्रत–उपवासबारे चासो नहुनु स्वाभाविक हो । तर भोकै त्यसै बस्दैन मान्छे, ओलीलाई यस विषयको ज्ञानै नभएको होइन ।


लामो जेल जीवनका दु:खकष्ट ओलीका यही शरीरले बेहोरेको हो । यसर्थ यातना र भोकबारे उनी अपरिचित छैनन् । ओली जेल पर्नुको कारण केसीको जस्तो अहिंसात्मक आग्रह थिएन, हिंसात्मक विद्रोह थियो । उनले अपनाएको व्यक्तिहत्याको राजनीति गलत थियो, कालान्तरमा उनी आफैंले पनि यो स्वीकारेका र शान्तिपूर्ण परिवर्तनका पक्षमा स्व–रूपान्तरित भएका हुन् । तथापि जे भए पनि उनको राष्ट्रप्रति लगानी छ । त्यसैले राष्ट्रप्रति लगानी भएको ओलीजस्तो मान्छेको आलोचना गर्दा अलि सचेत भएरै गर्नुपर्छ र म सचेत पनि छु । किनभने आज जुन मुक्त नेपालमा हामी छौं, त्यसका लागि ओलीले, आज मार्सी चामलको भात खाए पनि जेलका ढुंगे, गन्हाउने चामलको भात खाएका छन् । कष्टसाध्य युवावस्था गुजारेकै हुन् ।


निश्चय नै ओलीका सामु उनको निर्धन पृष्ठभूमिका कारण अरु विकल्प थिएनन् नै, तर पृष्ठभूमि जे भए पनि मुलुक यस चरणमा आइपुग्न उनका अनिदा रातहरू, उनले भोगेका कष्टको योगदान छ । उनको जस्तोसुकै विरोधीले पनि यो यथार्थ त स्वीकार्नैपर्छ । यो उनले देशलाई लगाएको गुन हो । गुन कसैले बिर्सनु हुँदैन र मिल्दैन पनि । तर धेरैजसो अवस्थामा हुने के रहेछ भने मानिस जब आफ्नो पूर्व स्थितिभन्दा माथि उठ्छ, अलिकति हुनेखाने बन्छ, उसलाई कुनै पनि किसिमको, नेपालीमा भन्नुपर्दा सत्ताशक्ति प्राप्त हुन्छ, अंग्रेजीमा पावर भन्छन् नि, अनि उसलाई लाग्दो रहेछ, ऊ यसैका लागि बनेको हो । ऊ मानौं हकदारै हो । त्यसपछि मान्छे ‘मै हुँ’ भन्न थाल्छ । शरीर उही हो, इन्द्रिय उनै हुन्, तर किन भन्न थाल्छ, किन ठान्न थाल्छ, ऊ आफैंलाई अरुभन्दा भिन्न ? यसको जवाफ माक्र्सवादले दिँदैन, नत आधुनिक मनोविज्ञानले सटिक रूपमा बताउन सक्छ ।


किन मात्तिन्छ मान्छे, यस मनोरोगको सटिक पहिचान (डायग्नोसिस) पूर्वीय शास्त्रहरूले गरेका छन् । श्रीमद्भगवद्गीताको १६ औं अध्यायमा मदोन्मत्त मानिसको बानी, बेहोरा र परिणाम सविस्तार वर्णन गरिएको छ । आफ्ना मन्त्रीसहित प्रधानमन्त्रीले यसको मनोयोगसाथ अध्ययन गर्नु उचित हुनेछ । मानिसका मूलत: दुई प्रवृत्ति हुन्छन्, दैवी र आसुरी । जब मानिसमा आसुरी प्रवृत्ति हावी हुन्छ, तब मानिसले ठिक त्यस्तै व्यवहार गर्छन्, जस्तो अहिले प्रधानमन्त्री र उनका मन्त्रीहरूले गरिरहेका छन् । जस्तै सञ्चार मन्त्री गोकुल बाँस्कोटा मन्त्री नहुँदासम्म असल नै थिए । मन्त्री बनेपछि उनको हाउभाउ, बानीबेहोरा सबै बदलियो, उनी प्रश्न गर्नै नहुनेगरी बम्किन थाले । अरु त अरु पर्यटन मन्त्री रविन्द्र अधिकारी मन्त्री नहुँदासम्म कति भलाद्मी, कति असल थिए । सज्जन र मिठो बोलीवचनकै कारण देशैभर मित्र कमाउनेमा गनिन्थे, अचेल उनको प्रस्तुतिमा के–के भएँ भन्ने देखिन्छ । मिडियासँग बोल्दा पनि उनी झर्कोफर्को गर्न थालेका छन् । उनले प्रश्नकर्तालाई विनम्रतापूर्व यसबारे पछि भन्छु भन्न सक्छन्, अशिष्टता प्रदर्शन गर्नै पर्दैन । सामाजिक सञ्जालका कारण उनका प्रस्तुति सार्वजनिक जानकारीमा आइरहन्छन् । उनले समेत आफ्नो धरातल बिर्सेका छन् ।


ओलीका आजभोलिका बोलीवचन सुन्दा त लाग्छ, कति धेरै मात चढेको होला ! विश्वमा उनी एक्लो प्रधानमन्त्री होइनन्, प्रधानमन्त्रीहरू कति छन् कति । फेरि उनी प्रधानमन्त्री छन् आज, यो आजको सत्य हो । अनन्तसम्म त रहने होइनन् । ओलीको प्रधानमन्त्री पद अरूको जस्तै अनित्य हो । ओलीको देहको ध्येय के हुनुपर्छ, यसको ज्ञान पाउन उनले गोविन्द केसीलाई सोध्नुपर्छ । यो देहको प्रयोजन हो, यसको आयु व्यर्थ प्रलापमा होइन, लोकहितमा खर्च गर्नु । श्वास चलेसम्म लोककल्याणमा, लोकसंग्रहमा, लोककै सर्वोपरी हितमा आफूलाई समर्पित गर्नु यस देहको वास्तविक प्रयोजन हो ।


यस अर्थमा ओली बडो भाग्यमानी हुन् । किनभने शक्ति सम्पन्न प्रधानमन्त्री छन्, स्थिर सरकारको नेतृत्व गरिरहेका छन्, ७ मध्ये ६ प्रदेशमा उनकै दलको सरकार छ । निस्वार्थ, निष्काम भावले यदि उनले राज्य सञ्चालन गरे भने के असम्भव छ † रेल, पानीजहाज, आठ लेनका सडक, कृषिमा क्रान्ति, उद्योगहरूको स्थापना सबै सम्भव छ । उच्च माध्यमिक तहसम्मको शिक्षा र स्वास्थ्यलाई पुरै राज्यको दायित्व बनाउन सकिन्छ र बनाउनुपर्छ पनि । मानिसको स्वास्थ्य, शिक्षा तथा परिवहनको जिम्मा राज्यले लियो भने व्यक्तिमा अन्तरनिहित ऊर्जा प्रस्फुटन हुन कत्ति पनि अबेर हुँदैन । नेपाल समृद्ध बन्न पहिला नेपाली स्वस्थ हुनुपर्छ । शिष्ट, सुशिक्षित, सुसंस्कृत बन्नुपर्छ । त्यसका लागि प्रधानमन्त्री तामसी हुनुहुँदैन, सात्विक भावले ओतप्रोत हुनुपर्छ ।


तर यस्तो–यस्तो भइरहेको छैन किनभने सत्तामा उक्लेपछि मन्त्रीहरूसहित प्रधानमन्त्रीलाई सत्ताको तामसी मात लागेको छ । एउटा बुढो डाक्टर भनिरहेछ, काठमाडौंमा मात्रै सबै चिकित्सा अध्ययन संस्थान नखोलौं, देशभर अवसर विस्तार गरौं । पहिला आवश्यक सेवासुविधा सहितका अस्पताल खोलौं, अनि बल्ल चिकित्साशास्त्र अध्ययनको मार्गप्रशस्त हुन्छ । बूढो डाक्टर वास्तवमा जनताका हृदयकै बोली बोलिरहेको छ ।


जहाँसम्म मेडिकल कलेज खोल्न इच्छुक लगानीकर्ता, व्यवसायी छन्, तिनलाई सडक यातायात, रेल, पानीजहाज चलाउने पूर्वाधार निर्माणतर्फ काम दिए हुन्छ । खनिज तेल र फलाम खानीदेखि युरेनियम खोजीमा खटाए हुन्छ । भनिन्छ, सियोसम्म नेपालमा बन्दैन, साइकल, मोटरसाइकल, गाडी बनाउने उद्योग खोल भनेर अवसर दिन सकिन्छ । तिनले मान्छे लुट्ने, मान्छेको शरीरमाथि व्यापार नै किन गर्नुपर्‍यो ।


तर यतातर्फ लरतरै बुद्धि फर्किंदैन । किनभने सत्ता, शक्ति, धन, बारम्बार भनियो, एक प्रकारको मात हो, मदिराजस्तै । ओलीले केसीका बारेमा बोलेका अशोभनीय शब्द त्यही मातका कारण प्रस्फुटित हुनपुगेका हुन् । विरलै हुन्छन् मात नलाग्नेहरू, अधिकांशलाई लाग्छ । उनका पूर्ववर्ती शेरबहादुर देउवा, पुष्पकमल दाहाल, सुशील कोइराला लगायत प्राय:जसो सबैलाई कुनै न कुनै किसिमको मात लागेको थियो । भनिन्छ, शक्ति र सत्ताको मदिराले साँच्चिकै मदिराभन्दा बढी मात लाग्छ । भनिरहनु नपर्ला, किनभने अहिले यो धेरैले महसुस गरेका छन्, ओलीलाई अचेल त्यही मात, सत्ताको त्यही घनघोर तामसले घेरेको छ । ठिकै भनेका थिए बाजपेयीले, सत्ताको चरित्र तामसी हुन्छ, यसलाई सात्विक भावले जित्नुपर्छ । प्रधानमन्त्री ओलीका लागि, मनोयोग साथ मनन गरे बाजपेयीका ती वचन मन्त्रतुल्य हुन सक्छन् ।


प्रधानमन्त्री कार्यकारी प्रमुख त हुन् नै, देशका अभिभावक पनि हुन् । उनका मुखबाट उच्चरित हुने अशोभनीय शब्दबिम्बहरू सुन्दै अप्रिय लाग्छन् । प्रधानमन्त्री माननीय हुन्, सम्माननीय हुन् । त्यसैले ओलीले शोभनीय बोलून्, सत्याग्रहको संवेदना बुझून्, यो देश आज यही कामना गरिरहेको छ । अन्यथा अरू के भनौं, आउँदा दिनहरूमा देशको मनोभाव बदलिन सक्छ ।

पाठक मञ्च

विचार गरौं है !

- कान्तिपुर संवाददाता

यी भीष्म जिउँदैछन् र खबर्दारी गर्छन्
आफू भोकै बसीबसी गल्ती औंल्याइरका छन् ।
‘मुलुककै स्वास्थ्य’ भन्दै चिन्ता गरिरहन्छन्
हामी सबका लागि यिनी, अथक लडिरका छन् ।।

कति पार्टी, कति सरकार, सरोकार यिनको एउटै नै
कैयौं आयोग, कतिऔं सहमति, माग यिनको ज्युँदै नै ।
‘पागल’ बनाउँछन्, ‘राजनीति’ घुसाउँछन्, सत्य यिनी अटल
धोका दिन्छन्, गिल्ला गर्छन्, तर यिनी निश्छल ।।

विचार गरौं, चिन्तन गरौं, यिनी स्वार्थी होइनन् है
कठोर बने, ढिटै बने, हामी सबैका लागि नै ।
बाँच्नुपर्छ यिनी अझै, हाम्रो स्वास्थ्य जोगाउन
हामीले नै नबुझे यो अरु को छ सम्झाउन ?

साँच्चि नै एकै मिनेट आँखा चिम्ली सोचौं
हाम्रो भूत, भविष्यत् र वर्तमान खोजौं ।
आजको सुस्ती अलमलीले भोलि दु:ख पर्ला
आजैको एक गल्तीले भोलि पछुतो होला ।।
हामी सबैलाई चेतना भया !
– डा. अजय रिसाल
धुलिखेल अस्पताल, धुलिखेल, काभ्रे

पाठक मञ्च

शिक्षामा अधिनायकवाद !

- कान्तिपुर संवाददाता

विगतको सरकारले गठन गरेको जम्बो शिक्षा आयोगमा सीमित शिक्षाविज्ञको सक्रियतामा भए पनि तयार पारिसकिएको प्रतिवेदन थन्काएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले अर्को शिक्षा
आयोग गठन गर्ने धृष्टता गरे फगत आफ्नो नाम जोड्न लालायित भएर किनभने :
१. उनको यो आयोग गठन गर्ने अभिलाषा अलि अघि नै थियो । तर प्रधानमन्त्रीबाट स्वीकृति आउन ढिलो भयो । त्यसैले उनैले भनेभन्दा ढिलो गरेर आयोग गठन भयो ।
२. आयोगको दुइटा मूल उद्देश्य भनिएका छन् : शिक्षाको अधिकार सम्बन्धी विधेयक र संघीय शिक्षा विधेयकको लागि सुझाव प्राप्त गर्न‘ । तर दुवै झुठका पुलिन्दा मात्रै हुन् ।
३. शिक्षाको अधिकार सम्बन्धी विधेयक तयार भई मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेको अवस्था छ ।
४. जहाँसम्म संघीय शिक्षा ऐनको सवाल छ, त्यो संविधानत: असोज २ गतेभित्रै पारित भइसक्नुपर्छ । तर आयोगको म्याद कात्तिक ४ गतेसम्म तोकिएको छ ।
५. आयोग गठन भएको १ महिना बित्नलाग्दा पनि प्रधानमन्त्रीको प्यारा मान्छे थप्नुपर्ने बहानामा आयोगले पूर्णता पाउनसकेको छैन । काम सुरु गर्ने त कुरै छाडौं ।
६. बरु अघिल्लो आयोगले दिएको ड्राफ्ट प्रतिवेदन नै केलाएर माथि भनिएको दुइटै उद्देश्य शिक्षा मन्त्रीले मज्जाले पूरा गर्न सक्थे, तर गरेनन् ।
७. प्रत्येक सरकार आएपछि आयोग गठन गर्न‘पर्ने र गठित आयोगको सुझाव पनि कार्यान्वयन हुन नदिने नेपालका सरकारको पुरानै रोग हो ।
८. स्मरणीय छ, २०४८ सालमा सरकारले गठन गरेको आयोगले दिएको विस्तृत प्रतिवेदनको मसी सुक्न नपाउँदै तत्कालीन एमालेको ९ महिने सरकारले फेरि अर्को आयोग गठन गरेको हास्यास्पद इतिहास साक्षी छ । दुवै प्रतिवेदन राम्ररी केलाएर हेर्ने हो भने तात्त्विक अन्तर केही पनि छैन ।
९. आयोग बनाएर शिक्षामा नाटक गर्नेहरूले प्रजातन्त्र आएको ३ दशकयता शिक्षा झन् ध्वस्त बनाएको प्रमाण जगजाहेर छ । एसईई र एसएलसीमा नपढे पनि पास हुनेगरी ग्रेडिङ प्रणालीको खराब रूप प्रयोगमा ल्याइएको छ भने उच्च शिक्षामा ७० प्रतिशत लगानी पानीमा डुबेको छ ।
१०. नेपालमा मन्त्री र प्रधानमन्त्री भएपछि ‘जे गरे पनि हुन्छ’ भनेर जनता झुक्याउने र ढाँट्ने कामबाट सबै आजित भइसकेको अवस्थामा अहिले भनिएको आयोगले पनि केही लछारपाटो लगाउँछ भनेर विश्वास गर्ने आधार छैन ।
– डा. मनप्रसाद वाग्ले
मीनभवन, काठमाडौं

पाठक मञ्च

प्रदेश प्रहरी कहिले ?

- कान्तिपुर संवाददाता

संविधानको धारा २६८ मा ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान संगठन सम्बन्धी व्यवस्था’ अन्तर्गत लेखिएको छ, ‘संघमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग रहनेछन् । प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन रहनेछ । संविधानको यो व्यवस्था, राज्यका नीति तथा अष्ट्रेलिया, बाङ्लादेश, बेल्जियम, क्यानाडा, जर्मनी, भारत, जापान, पाकिस्तान, स्वीट्जरल्यान्ड, चीन, अमेरिका लगायत विश्वका ११ मुलुकका प्रहरी संरचनाको अध्ययनपछि कार्यदलले तयार पारेको प्रतिवेदनमा समेटिएको सबैभन्दा अर्थपूर्ण सिफारिस पनि हो । तर आजसम्म प्रदेश स्तरमा प्रहरीको व्यवस्थाबारे प्रदेश नम्बर २ बाहेक अरु कसैले खुलस्त भएर रुचि देखाएको पाइँदैन । यसबारे केही प्रश्न सम्बन्धित निकायसँग सोध्न चाहन्छु ।
१. प्रदेश नम्बर २ ले प्रदेशसभामा पेस गरेको प्रदेश प्रहरी ऐनबारे प्रस्तावमा संघीय सरकार र नेपाल प्रहरी बीचको असहमतिका कारण प्रादेशिक स्तरमा प्रहरीको संरचनालाई लबिङ गराउन खोजिँदैछ । प्रहरी ऐन अध्ययन समिति गठनजस्ता प्रक्रियात्मक जालझेलको उद्घोष गरेर विवाद मत्थर पार्ने प्रयास गरिएको हो कि सहानुभूति दिलाउन मात्र खोजिएको हो ?
२. क्षेत्रीय प्रहरीको नामकरण प्रदेश प्रहरी कार्यालय र अञ्चल प्रहरीको नामकरण संघीय इकाइ प्रहरी कार्यालय राख्नुले औपचारिकताले मात्र पूर्णता पायो । व्यावहारिक तवरमा प्रदेश प्रहरी ल्याउन नसक्नुको जिम्मा कसले लिने ? प्रदेश सरकार कि संघीय सरकार ?
३. सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात् एआईजीलाई अवैध रूपमा प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिनु आलोचित भएकै हो । प्रदेश ऐनले नचिनेका एआईजीहरू लामो समयदेखि प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी बहन गरिरहेका छन् । ऐन निर्माणमा देखिएको विकराल ढिलासुस्तीको बाबजुद पनि गरिएको यस खालको नियुक्ति उपयुक्त भयो र ?
४. प्रदेश प्रहरी प्रादेशिक गृह मन्त्रालयको अङ्ग हुने भनिएको छ । नेपालले संघीयतालाई संस्थागत बनाउनुमा यसको भूमिका अग्रस्थानमा हुने निश्चित छ । तर यो विषयले किन प्राथमिकता पाइरहेको छैन ?
– ऋतिक यादव
सिम्रौनगढ–१०, बारा

पाठक मञ्च

छुवाछूत न्यायमा कानुनी जालझेल

- कान्तिपुर संवाददाता

जातीय छुवाछूत बारे सरकारले ल्याएको कानुनी प्रावधान कमजोर देखिएको छ । समाजमा दिनानुदिन उल्लेख्य रूपमा जातीय विभेदको मारमा दलित समुदाय परिरहेको छ । कानुनी बाटो थाहा नहुँदा धेरैजसो मुद्दा सामाजिक र प्रशासनिक तहमै मिलेमतो हुने गरेको छ । जातीय भेदभाव गर्नेहरूलाई राज्यले तोकेको सजाय कम र कमजोर छ । यसले गर्दा पीडकहरू उम्किने गरेका छन् । सजाय भोगिसकेकाहरू पनि जमानत र धरौटीमा छुट्ने प्रावधानले घाइते बाघसरी झन् हिंस्रक हुने गरेको पाइन्छ । कान्तिपुरमा ‘छुवाछूतमा कुटपिट गर्नेलाई जेल’ पढेंँ । जिल्ला अदालत महोत्तरीका न्यायाधीश दण्डमणि शर्माको इजलासले जरिवाना र क्षतिपूर्ति सहित जेल सजाय सुनाएका कमला गिरी र रामबाबु दाहाल फितलो कानुनी दुलोबाट धरौटीमा रिहा भएका छन् । यस्तो कानुनी जालझेलबाट महोत्तरीको बर्दिवासमा ४, भब्सी टोलका बुद्धमाया विश्वकर्मा र उनकी छोरी मनिषाले कसरी न्याय पाउँछन् ? यो पर्दा बाहिर आएको एउटामात्र घटना हो । पर्दा भित्र यस्ता थुप्रै घटना समाजमा दिनहँ‘ हुने गर्छन् । तर यस्तै थुप्रै कानुनी जालझेलका कारण दलित समुदाय कानुनको शरणमा जान सकिरकेको छैन । यसरी दलित समुदायको दयनीय अवस्थाको मजा लुटिरहेका छन्, बलिया पक्षले । कानुन खेलाउनेहरूलाई कानुनको कुनै प्रवाह छैन । अनि समाज कसरी जातीय विभेदबाट मुक्त हुन्छ ? यसर्थ सरकार यस मामिलामा निकै सचेत हुनुपर्ने देखिन्छ । पीडितलाई न्यायको अनुभूति गराउन नसके कानुनी शरणमा जानेको संख्या दिनानुदिन घट्नेछ ।
– राजेश विद्रोही
लहान, सिरहा

पाठक मञ्च

जनप्रतिनिधिले हेक्का राखून्

- कान्तिपुर संवाददाता

चुनाव जितेर सरकारमा पुगेका जनप्रतिनिधिहरूले मतको दम्भमा मैले जे गरे पनि हुन्छ भनिठान्नु उचित हुँदैन । जसरी एउटा विद्यार्थीले कुनै एक तहमा राम्रो अंक ल्याएर पास गरेको खण्डमा ऊ सधैंैभरि राम्रो विद्यार्थी नै हो, उसले पढ्न पर्दैन र उसले सधैंभरि नै राम्रो अंक प्राप्त गर्छ भन्ने तर्क कतिसम्म जायज हो ? यस्तै देखिन्छ, अहिलेका जनप्रतिनिधिहरूको सोच र व्यवहार । एक समय राम्रो काम गरेकै हुन्, चाहे संविधान जारी गर्न देखाएको हिम्मत, अघोषित भारतीय नाकाबन्दी विरुद्ध स्पष्ट अडान, विकास र समृद्धिको नारा आदि । त्यसैलाई समर्थन गरी जनताले पनि आफ्नो मतमार्फत जिताएर पठाएकै हुन् र त अहिलेको सरकारमा उनीहरूले नेतृत्व गरिरहनुभएको छ । तर पछिल्ला गतिविधिले के त्यही साख जोगाउन सक्ला ? सरकारमा रहेका जनप्रतिनिधिले एकपटक पाएको मत सधैंभरिलाई नभई केवल ५ वर्षका लागि हो भन्ने हेक्का राखी जनताको भलाइ हुने काम गर्नुपर्छ, न कि मनपरी । यदि सरकारमा रहेकाहरूले व्यवहार नसुधार्ने हो भने अहिले कांग्रेसीको हैसियतभन्दा पनि तल झर्नुपर्ला । बेला छँदै बुद्धि पुर्‍याएको राम्रो । त्यसैले जनप्रतिनिधिले विधि र पद्धतिको अक्षरश: पालना गरी काम गर्नुपर्ने हुन्छ ।
– संजीव पौड्याल
बाहुनडाँगी, मेची नगरपालिका–२, झापा

पाठक मञ्च

सामान्य जनताको हरिविजोक

- कान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाभित्र गएगुज्रेका सडक तत्काल मर्मत–सुधार र खाल्टाखुल्टी यथाशीघ्र पुर्न निर्देशन दिएको समाचार छ । यसबाट हाम्रो शासन व्यवस्था सञ्चालनको गैरउत्तरदायीपन झल्किन्छ । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा–कलङ्की सडक वर्षाैंदेखि जीर्ण छ । यो सडक विस्तार तथा सुधारका लागि निकै अघिदेखि काम थालिए तापनि राजनीतिक संरक्षण प्राप्त ठेकेदारको गैरजिम्मेवारीका कारण निर्माण कार्य समयमै पूरा हुनसकेको छैन । राजधानीका धेरैजसो सडक वर्षाको समयमा हिलाम्मे भई हिँंड्नै नसक्ने हुन्छन् भने सुक्खामा धुलो उडेर सास्ती भोग्नुपर्छ ।


मुलुक सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेपश्चात् सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले आ–आफ्ना अधिकार अनुसार प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गरी जनतालाई सुशासनको अनुभूति दिने अपेक्षा गरिएको थियो । वर्तमान सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता सहित सुशासन र समृद्धिको नारा लगाउने गरेको छ । तर जनता हरिविजोक भोग्न विवश छन् । स्थानीय तहबाट जनताले सहज तवरमा सेवा–सुविधा पाउनसकेका छैनन् र अतिरिक्त रकम बेहोर्नुपरेको छ । भ्रष्टाचारबाट जनता आक्रान्त छन् । जनसरोकारका कार्यालयहरूमा सामान्य कार्य गराउँदा पनि घूस खुवाउनुपर्ने बाध्यता छ । निमुखालाई न्याय महंँगो भइरहेछ । महंँगी, कालोबजारी र मिसावटबाट उपभोक्ता ज्यादै ठगिएका छन् । जनताले यस्ता पीडा, सास्ती, हैरानीबाट कहिले मुक्ति पाउलान् ?
– विदुर केसी
नागार्जुन–१०, स्युचाटार, काठमाडौं

पाठक मञ्च

उपभोक्ता सेक्ने निर्णय

- कान्तिपुर संवाददाता

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत सेवा शुल्क लगाउने घोषणासँगै उपभोक्ता मारमा पर्ने भएका छन् । सरकारले सेवा शुल्क लगाएसँगै एनसेल, नेपाल टेलिकम तथा इन्टरनेट सेवाप्रदायकहरू अर्थात् आईएसपीले सेवाग्राहीबाट लिने शुल्क पनि बढाउँदै छन् भन्ने समाचार आएका छन् । यसले हामीजस्ता इन्टरनेट ग्राहकलाई मारपर्ने देखिएको छ । सरकारलाई अतिरिक्त शुल्क तिर्नुपरेपछि नाफामूलक कम्पनीहरूले सेवाग्राहीसँग नै लिने हुन् । तर यसको मारमा भने सर्वसाधारण उपभोक्ता पर्ने देखियो । एकातिर सूचना प्रविधिमा जनताको पहुँचको कुरा गर्ने अर्कोतर्फ उपभोक्तालाई भार पार्नेगरी सरकारले गरेको निर्णय उपयुक्त छैन । सरकारको यो निर्णयले निम्न आयस्तरका जनताको सञ्चारमाथिको सहज पहुँचमा अवरोध हुने देखिन्छ । त्यसमाथि सूचनामन्त्री गोकुल बाँस्कोटाले बारम्बार इन्टरनेट शुल्क घटाइनेछ भनी भाषण गरिरहेको सुनिन्छ । सरकारले डिजिटल नेपालको दीर्घकालीन सपना पूरा गर्ने हो भने यो १३ प्रतिशत सेवा शुल्क सम्बन्धी निर्णयमा पुनर्विचार गरोस् । हामी लाखौं इन्टरनेट प्रयोगकर्ताको आग्रह हो यो ।
– अनमोल केसी
बानेश्वर, काठमाडौं

पाठक मञ्च

ठूला कुराभन्दा साना काम गर

- कान्तिपुर संवाददाता

देशमा अहिले केको आवश्यकता छ भनी जानेर पनि नजानेझैं गर्ने प्रधानमन्त्रीज्यू यदि तपाईको यस्तै चाला हो भने देशले कहिल्यै प्रगति गर्न सक्दैन । हामी ग्रामीण भेगका नेपालीलाई अहिले साधारणतया हिँड्न पनि सडक पुगेको छैन । हामी हुम्ला, डोल्पा, मुगुतिरका बासिन्दा सडक पुगे पनि रेल, पानीजहाज पुगेसरह नै ठान्नेछौं । त्यसैले पहिले यस्ता ससाना कुरामा ध्यान दिने कि ? अधिकांश भेगमा सडक पुगेका छैनन् । यदि पुगिहाले भने पनि पुगेका सडकहरू खाल्डाखुल्डीले तहसनहस अवस्थामा छन् । अहिलेको आवश्यकता के हो र जनताले के चाहिरहेका छन् भन्ने कुरा थाहा पाए उत्तम हुने थियो । पहिले हामीले सडक पायौं भने पछि देखौंला नि ठूलठूला रेल, पानीजहाजका सपनाहरू । त्यसैले यस्ता कुरामा सरकारले ध्यान दिनसक्यो भने जनता धेरै खुसी हुनेछन् ।
– वीरेन्द्र रावल
नरहरिनाथ गाउँपालिका, कालिकोट

पाठक मञ्च

माफिया संरक्षणमा सरकार

- कान्तिपुर संवाददाता

तत्कालीन एमाओवादी र एमाले देशैभर चुनावी तालमेल गरेर निर्वाचनमा होमिए । निर्वाचनमा उनीहरूले चाहेजस्तो सुखद परिणाम पनि आयो । मिलेर सरकार गठन गरे, पार्टी पनि एकता गरे । वर्षौंदेखि राजनीतिक अस्थिरताले देश विकास भएन भन्दै आएका हामीजस्ता नागरिकमा बल्ल देशमा स्थिर सरकार बनेकाले विकास, समृद्धि र सुशासनको नयाँ क्षितिज उघार्ने आशा पलाउनु अस्वाभाविक थिएन । सरकारको कामका बारेमा अहिले नै भविष्यवाणी गर्ने र टीकाटिप्पणी गर्ने पर्याप्त समय त भइसकेको छैन, तर बिहानीले दिनको संकेत गर्छ भनेझैं सरकारको अगाडिको बाटो, प्राथमिकता र गन्तव्य भने अनुमान लगाउन गाह्रो छैन ।
नयाँ सरकार बन्नासाथै केही क्षेत्रमा सुधारका सकारात्मक संकेतहरू देखिएका थिए । यातायात क्षेत्रमा वर्षौंदेखि व्याप्त सिन्डिकेट हटायौं भनेर प्रधानमन्त्री आफैंले संसदमा बोले । अन्तत: परिणाम नदेखिँदै सरकार सिन्डिकेटकै पक्षमा उभिन थालेको छ । समयमा काम नगर्ने ठेकेदारहरूलाई कारबाही गर्ने गृहमन्त्रीको अभिव्यक्तिले निक्कै चर्चा बटुल्यो, तर उनले एकजना पनि ठेकेदारलाई कारबाही नगर्दै यो विषय पूर्णरूपमा सेलायो । भ्रष्टाचारी र सुन तस्करका ठूला माछा पक्राउ गर्ने सरकारको ठूला कुरा भाषणमा मात्रै सीमित रहे । कालाबजारी संँगै शिक्षा, स्वास्थ्य र गैरसरकारी क्षेत्रका माफियाहरूलाई कारबाहीको दायरामा ल्याउने कुरा धेरैपटक सुनिए पनि सरकार कालान्तरमा तिनैको पृष्ठपोषणमा उभियो । यी र यस्ता केही प्रतिनिधि घटनाले सरकारप्रति संशय पैदा गरेको छ । यो सरकार जनताको हो कि माफियाको ? प्रश्न उसकै गतिविधिले जन्माएको छ ।


अहिले काठमाडौंदेखि धुलिखेलसम्म ७ वटा मेडिकल कलेज सञ्चालनमा छन् । यहाँको जनसंख्या ५० लाख मात्रै हो । यो बाहेक २ करोड ५० लाखभन्दा बढी जनसंख्या भएको बाहिरी क्षेत्रमा मेडिकल कलेज खोलौं भन्दा डा. गोविन्द केसी कसरी अधिनायकवादी भए ? केसीले निजीभन्दा सरकारी स्वामित्वका मेडिकल कलेजहरूलाई व्यवस्थित, सुविधा सम्पन्न र विश्वसनीय बनाउनुपर्छ भन्नु गलत हो ? नागरिकले दुर्गममा पनि उपचार पाउनुपर्छ, पढ्न पाउनुपर्छ, अनि दुर्गमको अस्पतालमा पनि डाक्टर बस्ने वातावरण बनाउनुपर्छ भन्नु अपराध हो ? सरकारी मेडिकल कलेजमा पर्याप्त छात्रवृत्ति र प्रवेश परीक्षामा उत्तीर्ण प्रतिशत बढाएर देशमै गुणस्तरीय स्वास्थ्य शिक्षा अध्ययन/अध्यापनको सुनिश्चितता गर्दै दक्ष चिकित्सक बन्ने विश्वसनीय आधार बनाउन डा. केसीले राखेको माग पूर्णत: जायज हो । हो, केसीको माग गलत, नाजायज र अधिनायकवादी तिनीहरूको लागिमात्र हो, जो नागरिकको स्वास्थ्य र शिक्षाको चरम व्यापारमा आफ्नो उन्नति, प्रगति देख्छन् । देशमा आफूलाई गरिबको पार्टी भन्नेहरूको सरकार छ । तर सरकार आफै गरिबको भन्दा धनाढ्य माफियाहरूको हित र जयजयकारमा लाग्नु दु:खदमात्रै होइन, दुर्भाग्यपूर्ण पनि छ ।
– निरोज खड्का
लिखु तामाकोसी–३, रामेछाप
***


बिहीबार प्रकाशित ‘अधिनायकवादको कोकोहोलो’ पढ्दा उनी आफ्नो लेखमार्फत सरकारको हनुमान भएको महसुस भयो । कानुनविदले हिजो फलानाले गल्ती गर्‍यो, आज पनि त्यही गल्ती गर्न किन नहुने भन्ने आशयको लेख लेखेर आफूलाई कानुनविद होइन, पार्टीको कार्यकर्ता सावित गरेका छन् । न्यायमूर्ति जनताको न्यायको आशाका केन्द्र हुनुपर्छ । यस्तै व्यक्तिहरू राजनीतिक भागबन्डाका आधारमा न्यायालयमा प्रवेश पाएकै कारण राजनीतिक मुद्दाहरूमा राजनीतिक आग्रह/पूर्वाग्रह देखिन्छ । हिजो कांग्रेस वा अरु दलले के गरे भन्नुभन्दा पनि डा. गोविन्द केसीका माग जायज हुन् वा होइनन्, मुख्य कुरा हो । हिजो कांग्रेस ठिक भएन र त आज वामपन्थीहरूले अवसर पाए । तर आफूलाई स्वतन्त्र भनी दाबी गर्ने अधिवक्ता सरासर पार्टी प्रवक्ताजस्तो वकालत गरिरहेकोमा राजनीतिक पूर्वाग्रह देखिन्छ । गंगामायाको पतिको निधन कांग्रेस सत्तामा भएकै बेला भयो, तर कांग्रेस एक्लै सत्तामा थिएन पनि । शान्ति र संविधान कार्यान्वयनको बेला उसले एकलौटी केही गर्न नसक्ने अवस्थामा थियो । अहिले दुई तिहाइको दम्भ देखाई जनताका स्वास्थ्य, शिक्षाजस्तो संवेदनशील विषयमा पार्टीका व्यापारीको फाइदा पुग्नेगरी चिकित्सा विधेयक किन ल्याइयो ? तपाईंसँंग यसको जवाफ छ ? एउटा नागरिक अभियन्ताले जनताको जनजीविकाका सवालमा उठाएका जायज मागलाई संसदको सार्वभौम अधिकारको कुरासँंग गाँसेर मनपरी गर्न पाइन्छ ?
– मिना न्यौपाने
मध्यबिन्दु–११, नवलपरासी

Page 7
विविधा

चुलिँदो ब्याजदरको चुनौती

बजार ब्याजदरलाई प्रभाव पार्न लगानी गर्नसक्ने क्षमतामा परिवर्तन ल्याउन सक्नुपर्छ ।
- सुशील पौडेल

नेपाल सरकारले लिएको आ.व. २०७५/७६ को ८.० प्रतिशत आर्थिक वृद्विको लक्ष्य पूरा गर्न आ.व. २०७४/७५ को २,६०१ अर्ब बराबरको कुल गार्हस्थ उत्पादनलाई (उत्पादन मूल्यमा प्रक्षेपित मुद्रास्फिति ६.५ प्रतिशत कायम रहँदा) २,९९२ अर्ब पुर्‍याउनपर्ने देखिन्छ । अहिलेको सिमान्त पुँजी उत्पादन ५.२ रहेको अवस्थामा थप ३९१ अर्ब उत्पादन बढाउन २,०३१ अर्ब पुँजी निर्माण हुनुपर्ने देखिन्छ । केन्द्रीय, प्रदेश र स्थानीय सरकारसहित पुँजीगत खर्च करिब ५०० अर्ब रहने प्रक्षेपण रहेकोमा थप १,५३१ अर्ब पुँजी निर्माण निजी तथा वैदेशिक क्षेत्रबाट हुनुपर्ने देखिन्छ । सरकारी पुँजीगत खर्चको ३ गुणाको हाराहरीमा पुँजी निर्माण निजी क्षेत्रबाट हुने गरेको छ । हाम्रो जस्तो मुलुकमा लगानीको प्रमुख स्रोत भनेको स्वपुँजी अथवा बैंक/वित्तीय संस्थाबाट लिन सकिने ऋण हो । त्यसैले ब्याज नै लगानीको मुख्य आधार हो । ब्याजदर बढी रहँदा थोरै परियोजनाहरू मात्र नाफायोग्य हुन्छ । अल्पकालीन लगानीको लागि अहिलेको ब्याजदर निर्णायक हुन्छ भने दीर्घकालीन लगानीको लागि दीर्घकालीन ब्याजदर निर्णायक रहन्छ । तसर्थ निजी क्षेत्रबाट अत्यधिक मात्रामा लगानी परिचालन गर्न ब्याजदर न्यून रहनुपर्ने हुन्छ ।


लगानीयोग्य कोषको माग र आपूर्तिको अवस्थाले ब्याजदर निर्धारण हुन्छ । आपूर्ति बढ्दा ब्याजदर घट्छ भने माग बढ्दा ब्याजदर बढ्छ । नेपालमा विप्रेषको वृद्धिदर घट्दो, आयातको वृद्धिदर बढ्दो, निकासी वृद्धिदर घट्दो, बचतमा रहने गरेको सेवा व्यापार अहिले घाटामा रहेको, वैदेशिक लगानी न्यून मात्रामा भित्रिएको र वैदेशिक अनुदान र ऋण बजेटको प्रक्षेपणको तुलनामा न्यून परिचालन हुनेगरेको हुँदा आपूर्तिमा चाप रहेको छ । गार्हस्थ बचत १५ प्रतिशत र बजेट घाटा २६७ अर्बको हुँदा आपूर्तिमा केही राहतको अवस्था छ । भूकम्प पश्चातको पुनर्निर्माण र आन्तरिक लगानीमा वृद्धि भई कुल पुँजी निर्माण ५२ प्रतिशत पुगेको र सरकारले घाटा पूर्ति गर्न १३६ अर्ब ऋण आन्तरिक बजारबाट उठाउनुपरेकोले ऋणको माग बढिरहेको छ । घरजग्गा र सेयर बजार कारोबारमा लागेको मन्दिले उक्त क्षेत्रमा गएको कर्जा ब्याज तिर्दै नवीकरण भइरहेको अवस्थाले गर्दा माग कम हुने अवस्था छैन । ग्राहक आकर्षित गर्ने दौडमा बैंक/वित्तीय संस्थाहरूले दिनदिनै ब्याज बढाइराखेको र हालै छाता संगठनले बचतमा ब्याज नबढाउन विज्ञप्ति जारी गरेको छ । यसले अहिले बैंक/वित्तीय संस्था बीचमा भइरहेको ब्याज वृद्धिको तीव्र प्रतिस्पर्धालाई कम गर्न सक्छ । तर बचत निरुत्साहित भई आगामी दिनमा आपूर्तिमा अझै चापपर्ने देखिन्छ । २०७४ वैशाखमा औसत ब्याजदर निक्षेपमा ५.५१ प्रतिशत र कर्जामा १०.६९ प्रतिशत रहेकोमा २०७५ वैशाखमा निक्षेपमा ६.६१ प्रतिशत र कर्जामा १२.३२ प्रतिशत रहेको तथ्यले नेपालमा लगानीयोग्य कोषको आपूर्तिमा सुधार नहुँदासम्म अथवा बैंक/वित्तीय संस्थामा लगानीको मागमा चाप कम नहुँदासम्म ब्याजदर घट्ने सम्भावना न्यून रहेको देखिन्छ ।


बजारले निर्धारण गरेको ब्याजदर राज्य अनुकूल नरहेको अवस्थमा केन्द्रीय बैंकले मौद्रिक उपकरणको प्रयोग गरी यसलाई अनुकूल अवस्थामा ल्याउने गर्छन् । मुद्रास्फिति लक्षित गर्ने देशहरूले मुद्रास्फितिको लक्ष्यसाथै वर्तमान र सम्भाव्य उत्पादन अन्तरको अवस्था हेरी उपयुक्त ब्याजदर नीति निर्धारण गर्छन् । अर्थतन्त्रमा समग्र माग बढेर मूल्य वृद्धिमा चाप परेको अवस्थामा मौद्रिक नीतिको कार्यदिशा संकुचन हुन्छ र केन्द्रीय बैंकको प्रयास ब्याजदर बढाउने हुन्छ भने समग्र माग कम भई मूल्यमा चाप नरहेको अवस्थामा मौद्रिक नीतिको कार्यदिशा खुकुलो हुन्छ र केन्द्रीय बैंकको प्रयास ब्याजदर घटाउने हुन्छ । केन्द्रीय बैंकले आफ्नो मौद्रिक नीतिमार्फत मध्यमकालीन तथा दीर्घकालीन ब्याजको लक्ष्य प्रस्तुत गर्छन् । केन्द्रीय बैंकले खुला बजार कारोबार सञ्चालन तथा नीतिगत दरको परिवर्तनद्वारा बैंक/वित्तीय संस्थासंँग रहेको लगानीयोग्य कोषको आपूर्ति तथा लागतमा प्रभाव पार्छ । यसको असर अन्तरबैंक ब्याजदरका साथै अल्पकालीन निक्षेप तथा कर्जामा रहेको ब्याजदरमा पर्छ । लक्षित ब्याजदर भन्दा बजार ब्याजदर फरक भएमा केन्द्रीय बैंकले खुला बजार कारोबार सञ्चालन तथा नीतिगत दरहरूको परिवर्तन गरी बजारको ब्याजदरलाई पुन: लक्षित बाटोमा फर्काउँछ । उक्त उपकरणको निरन्तर प्रयोगबाट केन्द्रीय बैंकले मध्यमकालीन तथा दीर्घकालीन ब्याजदरलाई आफ्नो लक्षित बाटोमा राख्न सफल हुन्छन । केन्द्रीय बैंकले आफ्नो कार्यदिशा अनुरुपको लक्ष्य निरन्तर रूपमा प्राप्त गर्दै जाँदा केन्द्रीय बैंकले उद्घोषमार्फत नै ब्याजदरलाई चाहेको बाटोमा डोर्‍याउन सक्छ ।


नेपाल राष्ट्र बैंकले आ.व. २०७३/७४ को मौद्रिक नीतिमार्फत मौद्रिक योगांकका साथै ब्याजदरलाई पनि लक्ष्यको रूपमा राख्ने युगको थालनी गरेको छ । आ.व. २०७४/७५ को नीतिले ब्याजदरलाई अपेक्षित सीमाभित्र राख्ने र ब्याजदरमा हुने उतार–चढावलाई न्यूनीकरण गर्ने उल्लेख गरेको छ । बैंकले अन्तरबैंक ब्याजदरलाई ३–५ प्रतिशतको सीमाभित्र राख्ने उद्देश्यले आंशिक रूपमा ब्याजदर करिडरलाई कार्यान्वयनमा ल्याएको छ । यस अन्तर्गत बैंकले बजारमा ब्याजको अवस्था हेरी ३ प्रतिशतमा २ हप्ते डिपोजिट कबुल गरी तरलता संकुचन गर्ने तथा ५ प्रतिशतमा २ हप्ते रिपोमार्फत तरलता प्रवाह गर्ने उल्लेख गरेको छ । २०७४ पुसयता अन्तरबैंक ब्याजदरलाई बैंकले आफ्नो लक्षित करिडोरभित्र राख्न सफल भएको छ । केन्द्रीय बैंकले आफ्नो अन्तरिम लक्ष्यको रूपमा रहेको अन्तरबैंक ब्याजदरलाई निश्चित सीमाभित्र राख्न सफल भए पनि वास्तविक क्षेत्रसँंग प्रत्यक्ष सरोकार राख्ने कर्जा तथा निक्षेप ब्याजदरको उकालिँदो अवस्थालाई नियन्त्रणमा राख्न थप प्रयत्न गर्न‘पर्ने देखिन्छ ।


केन्द्रीय बैंकको नीतिगत दर र खुला बजार कारोबारले अन्तरबैंक ब्याजदरमा र अन्तरबैंक ब्याजदरले अल्पकालीन ब्याजदरमा पार्ने प्रभावलाई ‘पास थ्रु’ भनिन्छ । नेपालको सन्दर्भमा स्थिर विनिमय दर प्रणाली, अनुमतिमा आधारित पुँजी खाता परिवर्तन प्रणाली, बैंक/वित्तीय संस्थामा संस्थागत सुशासनको पालनामा कमी, कर्जा प्रोभिजनिङमा अनियमितता, धितोमुखी ऋण प्रणाली, सट्टेबाजी तथा घरजग्गा क्षेत्रमा अत्यधिक ऋण प्रवाह, छाता संगठनहरूबाट प्रतिस्पर्धामा हस्तक्षेप, न्यून ब्याज कर्जा लचकता, आधारहीन पुँजी बजार उतार–चढाव, बैंक/वित्तीय संस्थाबीच सीमित मुद्रा बजारको दायरा, सरकारी न्यून वित्त पूर्तिमा बाह्यभन्दा आन्तरिक ऋण परिचालनमा जोड, क्रेडिट रेटिङ निकायहरूको अभाव, नोक्सानी सम्भाव्यताको आधारमा नभई बक्यौता समयको आधारमा कर्जा प्रोभिजनिङ गर्ने व्यवस्था र केन्द्रीय बैंकले राखेको लक्ष्य प्राप्त नहुँदा के हुने भन्ने जफावदेही प्रणाली नरहेको अवस्थामा नेपालमा ‘पास थ्रु’ न्यून हुनु स्वाभाविक हुन्छ । साथै केन्द्रीय बैंकको आन्तरिक नीतिगत कमीले पनि ‘पास थु्र’को प्रभावकारिता घटाइराखेको हुन्छ ।


बैंकले तरलता सम्बन्धी जोखिम कम गर्ने प्रयोजनका लागि न्यूनतम वैधानिक तरलता अनुपातको व्यवस्थाका साथै कर्जासंँग प्राथमिक पुँजी तथा निक्षेप अनुपात बढीमा ८० प्रतिशत हुनुपर्ने प्रावधान गरेको छ । संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा प्राथमिक पुँजीको ३० प्रतिशतसम्म मात्र लगानी गर्न पाइने व्यवस्था छ । बैंक/वित्तीय संस्थाको पछिल्लो वासलात हेर्दा पुँजी र निक्षेपको अनुपात १४ प्रतिशत र कुल सम्पत्ति निक्षेपको अनुपात १२८ प्रतिशत रहेको छ । यस अवस्थामा कर्जासँंग प्राथमिक पुँजी तथा निक्षेप अनुपात बढीमा ८० प्रतिशत हुनुपर्ने प्रावधानलाई कर्जा निक्षेप अनुपात ९१.२ प्रतिशत र संगठित संस्थाको सेयर तथा डिबेन्चरमा निक्षेपको ४.२ प्रतिशतमात्र लगानी गर्न पाइने भन्न सकिन्छ । तसर्थ निक्षेपको १२८ प्रतिशत रहेको सम्पत्तिमा कर्जा ९१.२ प्रतिशत बढीमा, सेयर लगानी ४.२ प्रतिशत बढीमा र स्थायी तथा अन्य सम्पत्तिमा १० प्रतिशत लगानी हुँदा न्यूनतम पनि तरल सम्पत्तिमा २२.६ प्रतिशत लगानी गर्नुपर्ने देखिन्छ । अहिले बैक/वित्तीय संस्थाको कर्जा र प्राथमिक पुँजी तथा निक्षेप अनुपात लगभग ८० प्रतिशतको रहेको अवस्थामा बैंक/वित्तीय संस्थाले थप निक्षेप परिचालन नगरी थप कर्जा परिचालन गर्नसक्ने स्थिति छैन । बैंकले तोकेको न्यूनतम वैधानिक तरलता अनुपातभन्दा धेरै सम्पत्ति तरल सम्पत्तिमा राख्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा केन्द्रीय बैंकले प्रवाह गर्ने तरलता बैंकहरूले तरल सम्पत्ति विविधीकरण अथवा तरल सम्पत्तिको आय वृद्धि गर्न अथवा तरलतामा नगदको मात्रा व्यवस्थापन गर्नमात्र प्रयोग गर्छन् । यसले अन्तरबैंक ब्याजदरलाई प्रभावित गर्न सक्छ । तर कर्जा तथा निक्षेपको व्याजदरलाई असर पार्दैन । बजार ब्याजदरलाई प्रभाव पार्न लगानी गर्नसक्ने क्षमतामा परिवर्तन ल्याउन सक्नुपर्छ । साथै अत्यधिक रूपमा तरल सम्पत्ति राख्नुपर्दा उक्त लागतसमेत सीमित कर्जाबाट पूर्ति गर्नुपर्दा ब्याज बढी लिनुपर्ने हुन्छ । तसर्थ कर्जा निक्षेप अनुपात सम्बन्धित व्यवस्था पुनरावलोकन नगरी बैंकले ब्याजदरलाई आफ्नो नियन्त्रणको दायरामा राख्न सक्ने देखिँदैन ।


बैंकहरूले अत्यधिक रूपमा अस्थिर प्रकृतिका गैरनिक्षेप परिचालन गरेका कारण २००८ को मन्दी निम्तिएको हुँदा संस्थामा स्थायी प्रकृतिको स्रोतको आपूर्ति बढाउन कर्जा निक्षेप अनुपातको व्यवस्था सुरु गरिएको थियो । तर अहिले कर्जा निक्षेप अनुपातले कर्जा तथा निक्षेपको अवस्था, समयावधि, विविधीकरण र स्थायित्वजस्ता प्रवृतिलाई महत्त्व नदिने हुँदा धेरै मुलुकले यस व्यवस्थालाई त्यागेको देखिन्छ । त्यसैले पनि तरलता जोखिम कम गर्न वासेल ३ ले सिफारिस गरेको लिक्विडिटी कभरेज अनुपात, नेट स्टेवल फन्डिङ अनुपात र तरलता अनुगमन गर्ने मापदण्ड सम्बन्धी व्यवस्था पूर्णरूपमा कार्यान्वयनमा ल्याई कर्जाको पुँजी तथा निक्षेप अनुपात सम्बन्धी व्यवस्थालाई त्याग्न जरुरी छ । योसंँगै एक वर्षभित्र बुझाउनुपर्ने सावाँ–ब्याज र आम्दानीको अनुपातको उच्चतम सीमालाई कार्यान्वयनमा ल्याई धितोमा आधारित कर्जालाई आम्दानीमा आधारित बनाई कर्जा जोखिम कम गर्न‘पर्ने देखिन्छ । यस व्यवस्थाले सट्टेबाजी क्षेत्रमा गएका कर्जाको ब्याज तिर्दै नवीकरण गरी ओगटेर राख्ने कर्जाको माग कम हुने, तरलता व्यवस्थापन स्थिर हुने र कर्जा ब्याजप्रति बढी लचक हुनुका साथै उत्पादनशील क्षेत्रमा बढीभन्दा बढी कर्जा परिचालित हुने देखिन्छ ।
पौडेल नेपाल राष्ट्र बैंकका उपनिर्देशक हुन् ।
यो लेखकको व्यक्तिगत विचार हो ।
[email protected]

विविधा

आदिकविबारे केही तथ्य

सन्दर्भ : भानु जयन्ती
भानुभक्त सम्बन्धी अन्य प्रसंगमा विवाद भए पनि उनको जन्ममिति र जन्मस्थानबारे भने पहिला जीवनीकार मोतीराम भट्टबाट भुल भएको देखिन्छ ।
- डा. भवानीशङ्कर भट्टराई

आदिकवि भानुभक्त आचार्यको जीवनीबारे पहिलो अनुसन्धाता मोतीराम भट्ट हुन् । उनले ‘आदिकवि भानुभक्तको जीवनचरित्र’ (१९४८) प्रकाशित गरेका छन् । उनीपछि भानुभक्तको जीवनीमाथि कलम चलाउने व्यक्ति शम्भुप्रसाद ढुङ्ग्याल हुन् । तर उनको पुस्तकले मोतीरामद्वारा प्रस्तुत जीवनीमा खासै नयाँ कुरा पाइँदैन । सूर्यविक्रम ज्ञवालीले विसं १९८६ मा भानुभक्तको रामायणलाई सम्पादनसहित प्रकाशित गर्दा भूमिका खण्डमा ‘भानुभक्तीय जीवनी’ लेखेको देखिन्छ । ब्रह्म शमशेरको ‘कवि भानुभक्त’ (१९९५) त्यसपछि रमानाथकी छोरी (भानुभक्तकी नातिनी) विष्णुमाया शर्माको ‘भानुभक्त मणिमाला’ (विष्णुमायाद्वारा भनिएको तथा रङ्गनाथद्वारा सम्पादित, प्रकाशनकाल–१९९८), भानुभक्तका नाति पण्डित नरनाथ आचार्यको ‘कविसम्राट् भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’ (२०१७), बालचन्द्र शर्माको ‘भानुभक्त’ लगायत कृति प्रकाशित छन् ।


भानुभक्त आचार्य रामायणका माध्यमबाट जति चर्चित र सम्पूज्य छन्, विद्वत् वर्गमा उति नै विवादित पनि छन् । कति विवाद त आम मानिस समक्ष पनि पुगेका छन् । खासगरी यस्ता विवाद उनको जन्ममिति र जन्मस्थान, भानु–घाँसी भेट, रामगीताको अनुवाद काल, भानुभक्तको जागिर, भानुभक्तको आदिकवित्व, गजाधर सोतीकहाँ बास, निधन मिति र अरू पनि थुप्रै घटना/प्रसङ्गमा गरिएका छन् । उनको जन्ममिति र जन्मस्थानबारे पहिलो जीवनीकार मोतीराम भट्टबाटै भुल भएको देखिन्छ । भानुभक्तका भतिजा रमाकान्तलाई स्रोत मानेर आफ्ना चरित्र नायकको जीवनी लेख्ने क्रममा उनले विसं १८६९ लाई भानुको जन्ममिति लेखेको देखिन्छ, जुन पछि गलत सावित भएको छ । प्रस्तुत लेखमा यसबारे छोटो चर्चा गरिन्छ ।


भानुभक्तको जन्ममिति
मोतीराम भट्टले भानुभक्त विसं १८६९ मा जन्मिएका हुन् भन्ने उल्लेख गरेको देखिन्छ । शम्भुप्रसाद ढुङ्ग्याल, सूर्यविक्रम ज्ञवाली र ब्रह्म शमशेरले पनि भानुभक्तको जीवनी लेख्दा मोतीरामकै अनुशरण गरेको देखिन्छ । त्यसपछि विष्णुमायादेखि आजसम्मका सबै जीवनीकारले भने भानुभक्तको जन्ममिति १८७१ नै उल्लेख गरेपछि भने यी दुईमध्ये कुन सही हो भन्ने विषयमा अध्येताहरूमा मतान्तर देखिएको छ ।


भानुभक्त स्वयंले ‘श्रिशालिवाहन्का...’ (भानुभक्त आचार्यको खोजपूर्ण जीवनी, पृ. १२) पद्यमा उल्लेख गरेअनुसार उनको जन्म श्रीशालिवाहन शक १७३६ (वि.सं. १८७१) असार २९ गते दिनको ३१ घडी र ३२ पला जाँदा (घाम अस्ताउने बेलामा) भएको बुझिन्छ । यसलाई भानुभक्तको जन्मदिनबारे ज्योतिषीय अध्ययन गरेका दिनेशराज पन्तले समेत पुष्टि गरेका छन् । उनको अध्ययन अनुसार वि.सं. १८७१ असार २९ गते श्रावणकृष्ण अष्टमी तिथि पथ्र्यो । सो अष्टमीले त्यस दिन ३३ घडी ३२ पला भोग गरेको थियो । सोही दिनको ३१ घडी र ३२ पला बित्दा भानुभक्त आचार्यको जन्म भएको हो भनेर उनले उल्लेख गरेका छन् (सुवेदी, २०५६ : १) । भानुभक्त आचार्यका पनाति मुक्तिनाथले भानुभक्त दिनको करिब ४ घडी बाँकी रहँदा गोधूली बेलामा जन्मिएका हुन् भनेका छन् । उक्त घडीपलालाई घन्टामा परिवर्तन गर्दा सूर्यास्तभन्दा २ घडीअघि अर्थात् ४८ मिनेटअघि उनको जन्म भएको देखिन्छ । असारमा प्राय: ७ बजे सूर्यास्त हुने गर्छ, अत: उनी बेलुकी ६:१२ बजेको आसपासमा जन्मिएका देखिन्छन् । यसबारे माथिको मुक्तिनाथको अध्ययन अनुमानमा आधारित देखिन्छ । भानुभक्तको जन्मसाल एवं समयको वास्तविकता सर्वप्रथम विष्णुमायाले पत्ता लगाएकी हुन् । उनले नै भानुभक्तको जन्मकुण्डली प्रकाशित गराएकी (विष्णुमाया, १९९८ : २) हुन् । जन्मकुण्डली प्रकाशित हुनुअघि भानुभक्तको जन्म साल वि.सं. १८६९ मानिएको थियो । भानुभक्तका पहिला अध्येता मोतीराम भट्टले भानुभक्तका भतिजा रामदत्तबाट प्राप्त स्रोतलाई आधार मानेर उक्त साल उल्लेख गरेका छन् । मोतीरामको यही तथ्यलाई आधार मानेर शम्भुप्रसाद ढुङ्ग्याल, सूर्यविक्रम ज्ञवाली र ब्रह्मशमशेर जबराले पनि सोही जन्ममिति उल्लेख गरेका थिए । जन्मकुण्डली प्रकाशित भएपछि भने भानुभक्तको जन्म मिति विसं १८७१ नै ठहरिएको छ । तर विष्णुमायाले आफ्नो खोजमा भानुभक्तको जन्म आषाढकृष्ण अष्टमी तिथिमा भएको थियो भन्ने उल्लेख गरेपछि परवर्ती अनुसन्धाता आषाढ वा श्रावणकृष्ण हो भन्ने कुरामा भ्रमित भएका थिए । शिवराज आचार्यले अनुसन्धान गरी उक्त सालको आषाढकृष्ण अष्टमी जेठ ३१ गते र श्रावणकृष्ण अष्टमी आसार २९ गते परेको स्पष्ट पारेका छन् । उक्त अध्ययनसँग दिनेशराज पन्त पनि सहमत छन् । अत: भानुभक्तको जन्मतिथि श्रावणकृष्ण अष्टमी नै हो भन्ने स्पष्ट हुन्छ । तर भानुभक्तको द्विशत्वार्षिकीका अवसरमा नरेन्द्रराज प्रसाईंद्वारा प्रकाशित ‘भानुभक्तको जीवनवृत्त’ नामक पुस्तकमा प्रसाईंले भानुभक्तको निधन भएको ७३ वर्षपछि विष्णुमायाद्वारा प्रकाशित भानुभक्तको चिनाको अक्षर उनका अन्य हस्ताक्षरसँग नमिल्ने तर्क गरेका छन् । यद्यपि पाण्डुलिपि परीक्षण विभागले श्रीशालिवाहनका श्लोकको हस्ताक्षर भानुभक्तकै हो भनी प्रमाणित गरिसकेको देखिन्छ । अत: भानुभक्तको जन्ममिति बारे अब तर्क–वितर्क गर्नुको कुनै औचित्य देखिँदैन ।


भानुभक्तको जन्मस्थान
मोतीराम भट्टले भानुभक्त आचार्य हालको तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मिएका हुन् भन्ने उल्लेख गरेका छन् । यस विषयमा मोतीरामदेखि नरनाथपूर्वका जीवनीकारमा मतभेद पाइँदैन । भानुभक्तका नाति नरनाथ आचार्यले भने उनका बाबु (भानुभक्तका बाबु) धनञ्जय आचार्यले त्यतिबेला जागिर खाएको ठाउँ पाल्पा वा तनहुँ तामाकोटको श्रीकृष्ण आचार्यको मूलघरमै उनको जन्म भएको हुनसक्छ (आचार्य, २०३६ : १९) भनी तर्क गरेपछि भने जन्मस्थानबारे उत्तरवर्तीहरूमा भ्रम उत्पन्न भयो । त्यसैगरी आचार्य परिवारकै सदस्यहरूमध्ये पनि एकथरीले चुुँदी रम्घा डाँडामा र अर्काथरीले चाहिँं चुँदी बेंँसीमा नै उनको जन्म भएको भनेका छन् । यसले आम मानिसमा उनको जन्मस्थान बारे अन्योल उत्पन्न भएको थियो ।


भानुभक्त पाल्पातिरै अथवा मूलघर तामाकोटतिरै जन्मिएका हुन् भन्ने नरनाथ आचार्यको कथनलाई उनका नाति आमोदबद्र्धन कौण्डिन्न्यायनले पनि समर्थन गरेको देखिन्छ । अर्का सन्तान मुक्तिनाथ भने रम्घा धर्मशालामै भानुभक्तको जन्म भएको स्वीकार गर्छन् । यस भनाइलाई समर्थन गर्दै व्रतराज आचार्य लेख्छन्– ‘विसं १८७१ को परिवेशमा नेपालमा युद्धको बादल मडारिइरहेको हुनाले धनञ्जयले आफ्नी पत्नीलाई पाल्पा लैजानु सम्भव देखिँदैन । अर्को कुरा भानुभक्तको जन्म समयमा श्रीकृष्ण आचार्यको परिवारको बसाइ गाउँ र बेंँसी दुबैतिर पाइन्छ, तापनि वर्षायाममा भानुभक्त जन्मेका हुँदा उनको जन्मस्थल शिखर कटेरी (हालको चुँदी रम्घा डाँडाको धर्मशाला) हो भन्ने कुरा किटानीका साथ भन्न सकिन्छ । (आचार्य, २०५८ : २९) ‘यस विषयमा मुक्तिनाथ आचार्य आफ्नी हजुरआमा (भानुभक्त पुत्र रमानाथकी पत्नी) बाट सुनेका कुरालाई आधार मान्दै लेख्छन्– ‘रम्घालीहरू गर्मी याममा औलोबाट बच्न गाउँमा जाने हुँदा भानुभक्त रम्घा धर्मशालामा नै जन्मिएका हुन् ।’ फेउनी अगाडि लेख्छन्– ‘पहिले हाम्रो रम्घाको घर हालको धर्मशालामा थियो । मेरी हजुरआमालाई विवाह गरी भित्र्याएको पनि सोही घरमै हो ।’ यस विषयमा भानु जन्मस्थल विकास समितिले उक्त घडेरीको उत्खनन गरी जुटाएको प्रमाण पनि थप आधार भएको छ । विसं २०५४ साल कात्तिकमा इतिहास केन्द्रीय विभाग कीर्तिपुरका प्राध्यापक राजाराम सुवेदीको नेतृत्वमा रम्घा डाँडाबाट १ किमि तल उत्खनित सो भग्नगृहमा घरमा प्रयोग हुने सामग्रीहरू ‘पनियो, फलामे टुकटुके, तामाको एक पैसा, चाँदीको आधा बालो, घैंटाको प्रशस्त खपेटा, चुलामा डढेको रातोमाटो, अङ्गार, खरानी, कोइला, अगेनो, ओछ्यानको अंश, पूजाकोठा, चन्दनखोरी, सिलौटी, लोहोरो आदि’ वस्तुका अवशेष पाइएका थिए भनी सुवेदीले उल्लेख गरेका छन् । उक्त अवशेषका आधारमा उत्खनक सुवेदीले सो घर भानुभक्तकै हुनुपर्ने ठहर गरेका छन् । हालको धर्मशाला नै भानुभक्तको जन्मघर हो भन्ने कुरामा चँ‘दीका बुढापाका र अध्येता व्रतराज आचार्य पनि सहमत छन् । धर्मशाला भएको ठाउँमा अहिले घना जङ्गल भई पहिले बस्ती नबसेको जस्तो देखिए पनि विसं १९४३ सम्म भानुभक्तका सन्तति बसेका थिए भन्ने कुरा मुक्तिनाथले अनुश्रुतिलाई आधार मानेर उल्लेख गरेका छन् । निष्कर्षमा चुँदीवासीको परम्परागत कथन, अध्येताको अध्ययन र भग्नगृहको उत्खननबाट पाइएका अवशेषका आधारमा सो स्थल भानुभक्तको जन्मस्थल हो भन्ने प्रमाणित हुन्छ । तर भानुभक्त जतिबेला जन्मिए, त्यतिबेला धर्मशाला मुनिको उक्त घरमा मानिसको बसोबास नभएको बुझिन्छ । त्यसैले रम्घा डाँडो (शिखर कटेरी/रम्घा धर्मशाला) मा नै भानुभक्तको जन्म भएको हो भन्ने कुरा जनश्रुतिले बताएको छ ।
[email protected]

विविधा

योगमायाको योगदान

समाज रूपान्तरणका लागि सशक्त आवाज उठाएकी योगमायालाई राष्ट्रिय विभूतिका रूपमा सम्मान गर्न ढिला गर्नु हुँदैन ।
- दुर्गा घिमिरे

धार्मिक र आध्यात्मिकवादी नेतृ योगमायाको विषयमा अहिले धेरै चर्चा–परिचर्चा हुनथालेको छ । भोजपुरमा १०० वर्ष अगाडि जन्मिएकी योगमायाले नेपाली समाजमा देखिएका विकृति, विसंगति अन्याय, अत्याचार, महिलाप्रति हुने हिंसा र धर्म–संस्कृतिका नाममा महिलामाथि लादिएका बन्धनहरू गरिब र धनी बीचको असमानता विरुद्ध तत्कालीन समयमा उठाएका आवाज अहिले बिभिन्न शोध र पुस्तकहरूका रूपमा आइरहेका छन् । ती पढ्दा लाग्छ, योगमाया कति साहसी र दृढ इच्छाशक्ति भएकी महिला रहिछन् † सय वर्ष अगाडिको सामाजिक संरचना, पितृसत्तात्मक सोच र अवधारणा, क्रूर राणाशासनका बेला बोल्न र अधिकारका निम्ति माग गर्नु चानचुने कुरा थिएन । कतिपय अवस्थामा यस्तो आवाज उठाउनेलाई मृत्युदण्ड पनि हुनसक्थ्यो । तर उनले हिम्मतका साथ विसंगति विरुद्ध आवाज उठाइन् । उनले उठाएका विषय हाम्रा समाजमा अझै विद्यमान छन्, केही परिवर्तन पनि भए । सामन्ती सोच र महिलाप्रति हेर्ने दृष्टिकोणमा अझै ब्यापक परिवर्तन आउन जरुरी छ ।


योगमायाको विवाह ७ वर्षकै उमेरमा भएको उनका सम्बन्धमा गरिएका अनुसन्धानले बताउँछन् । उनको विवाह ४ वर्षमात्र टिक्यो । उनले दोस्रो विवाह गरिन् । त्यो विवाह पनि लामो समय टिक्न सकेन । उनले तेस्रो विवाह पनि गरेको देखिन्छ । त्यस बेलाको समयमा उनले विधवा विवाह गर्नु ठूलो अपराध मानिन्थो । त्यस विरुद्ध प्रशस्त टिकाटिप्पणी भए पनि योगमायाले कुनै पर्वाह गरिनन् । आफ्नो ब्रह्मले जे ठिक देख्यो, उनले त्यही गरिन् ।


योगमायाले पितृसत्तात्मक सोच र मान्यता, सामाजिक–सांस्कृतिक विकृति, महिलामाथि हुने हिंसा, जातीय भेदभाव विरुद्ध संगठित रूपमा आवाज उठाएकी थिइन् । उनलाई आवाजविहीनहरूको आवाज उठाउने महिलाको रूपमा हेरिन्थ्यो । विशेष गरेर दीनदु:खी र पिछडिएका महिलाको पक्षमा आवाज उठाउने दृढ महिलाका रूपमा उनलाई हेरिन्छ । उनलाई धेरै महिलाले साथ थिए, कतिपय अनुयायी पनि भए । योगमायाले तत्कालीन राणाशासनका तीन प्रधानमन्त्री जुद्ध शमशेर, मोहन शमशेर र चन्द्र शमशेरलाई भेटेर आफ्ना मागहरू बुझाएकी थिइन् । मागलाई सरकारले बेवास्ता गरेपछि उनले आफ्ना १४० जना सहयोगीसहित अग्निदाह गर्ने चेतावनी दिएकी थिइन् । तर सरकारले उनलाई जेलमा पनि राख्यो । राणा सरकारले मागलाई बेवास्ता गरेपछि उनले ६८ जना अनुयायीलाई लिएर अरुण नदीमा जल समाधि पनि लिइन् । यति ठूलो संख्यामा महिलाले जल समाधि लिएको कुनै पनि देशमा सुन्न र देख्न पाइँदैन । यसबाट के प्रस्ट हुन्छ भने योगमायामा दरिलो संगठन गर्ने क्षमता र शक्ति पनि रहेछ ।


‘योगवाणी’ पुस्तकले योगमायाले सामाजिक विकृतिविरुद्ध पनि आवाज उठाएकी थिइन् भन्ने प्रस्ट पार्छ । भ्रष्टाचार विरुद्ध कैयौं ठाउँमा कवितामार्फत तिखो प्रहार गरेकी थिइन् । उनले राणा प्रधानमन्त्रीहरूसँग धर्म राज्य स्थापनाको लागि पनि आवाज उठाएकी थिइन्, जसलाई अहिले हामी सुशासन र विधिको शासन पनि भन्छौं । सामाजिक जागरण र महिला अधिकारको पक्षमा लड्ने सशक्त महिला सबैका निम्ति उदाहरणीय व्यक्ति हुन्, जसलाई कुनै पार्टीको टीका लगाइदिनु हुँदैन । यस्ता गौरवशाली महिलाका निम्ति आयोजना गरिने कार्यक्रममा राजनीतिकर्मी मात्र हैन, महिला अधिकारकर्मी पनि समावेश गरिनुपर्छ । कार्यक्रममा आवाजविहीनका आवाज पनि सुनिनुपर्छ । अहिले जे कुरामा पनि राजनीति गर्ने परम्परा बसेका बेला कमसेकम यस्ता महिलालाई सबैको सम्मानको पात्र बनाइनुपर्छ । योगमायाबारे विदेशी विद्वानहरूले पनि पुस्तक निकालेका छन् । उनको जीवनका बिभिन्न आयाममा अझै खोजी जरुरी छ ।


२०१६ मा नेपाल सरकारले योगमायाको स्मृतिलाई जीवन्त राख्न हुलाक टिकट पनि निस्काशन गरेको छ । उनको नाममा संस्थाहरू स्थापना गर्ने पनि निर्णय भएको छ । उनको जीवन सम्बन्धी पुस्तकहरू स्कुलको पाठ्यक्रममा पनि राखिनुपर्छ । यसले बालबालिकालाई उत्प्रेरित गर्न सक्छ । सादा जीवन उच्च विचारकी योगमाया नेपालकी उज्ज्वल तारा हुन् । उनका बारेमा देशभित्र मात्र नभएर देश बाहिर पनि प्रचार गरिनुपर्छ । उनको जन्मथलोलाई पनि पवित्र तीर्थस्थलका रूपमा विकास गरिनुपर्छ । योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नेबारे चर्चा चलिरहेको छ । समाज रूपान्तरणका लागि यति धेरै आवाज उठाएकी महिलालाई राष्ट्रिय विभूतिका रूपमा सम्मान गर्न ढिला गर्नु हुँदैन ।

विविधा

लोकतन्त्रमाथि अधिनायकवादको छाया

सरकार लोकतन्त्रलाई खुम्च्याई शक्तिशाली बनेर विकास गर्न सकिन्छ भन्ने मनस्थितिमा छ ।
- मिलन पाण्डे

पुस्तक ‘हाउ डेमोक्रेसिज डाई’मा स्टेभिन लिभित्स्की र डेनियल जिबलटले लेखेअनुसार लोकतन्त्रबाटै अधिनायकवादी बनेका शासकहरूमा केही समानता भेटियो । ती अधिनायकवादी नेताहरूले लोकतन्त्रको पद्धतिलाई बेवास्ता गर्ने, प्रतिपक्षको वैधानिकतालाई उपेक्षा गर्ने, नागरिक वा विरोधीको अधिकारलाई निलम्बित गर्ने अनि सञ्चार माध्यमलाई नियन्त्रणमा लिने जस्ता चरित्र प्रदर्शन गरेका थिए । नेतृत्वमा यी चरित्र देखिन थालेपछि लोकतन्त्र खतरामा पर्नथालेको हामीले देखेका अनि पढेका छौं ।


लोकतन्त्रमा मूलभूत पाँच स्तम्भ हुन्छन्– सरकार, प्रतिपक्ष, अदालत, प्रेस अनि नागरिक समाज । लोकतन्त्रका निम्ति यी पाँच स्तम्भबीच सन्तुलन अनि नियन्त्रण एकदमै आवश्यक छ । हालको अवस्थामा एउटै पार्टीको बहुमतसहित दुई तिहाइको बलियो सरकार छ । तर प्रतिपक्ष आफै अन्योलमा छ । अदालत कमजोर छ । प्रेस स्वतन्त्र रहनसकेको छैन । नागरिक समाज पार्टीको ट्यागले लत्पतिएको छ । अधिनायकवादी चरित्र यस्तै अवस्थामा उदाउने हो ।
ल्याटिन अमेरिकी नेताहरू अल्बर्टो फुजिमोरी, ह्युगो चाभेज, इभो मोरालेज, लुसियो गुटिरेज लगायतका नेताले ‘पपुलिस्ट’ नारा लिएर चुनाव जितेर व्यवस्था भित्रैबाट व्यवस्थालाई खोक्रो बनाउँदै अधिनायकवाद लादेका थिए । हंगेरी, निकारागुवा, पेरु, फिलिपिन्स, पोल्यान्ड, रूस, टर्की र युक्रेन पनि अधिनायकवादको सिकारबाट बच्न सकेनन् । ती देशहरूमा अतिवाद, उग्रराष्ट्रवाद अनि लोकप्रियतावाद अँंगालेर अधिनायकवाद आएको थियो । अहिले नेपालमा पनि यस्तै केही हुन लाग्दैछ कि भनेर शंका उब्जिएको छ ।


केन्द्रदेखि प्रदेशसम्म कम्युनिस्ट पार्टीकै सरकार छन् । सरकारलाई तुलनात्मक रूपमा नागरिकको साथ छ । तर सरकारले एक्कासी लोकतन्त्र अनि संविधानको मर्म मिचेर राजधानीमै ७ ठाउँ बाहेकलाई निषेधित क्षेत्र तोकेको छ । यसले सरकारको लोकतन्त्रप्रतिको आस्थामा ठूलो शंका अनि प्रश्न उब्जाएको छ । प्रदर्शन अनि विरोध गर्न पाउने आम नागरिकको मौलिक हक हो । संवैधानिक हक अनि लोकतन्त्रमाथि भएको यो अनावश्यक प्रहारले सरकारको अनुदार चरित्र छताछुल्ल बनाएको छ ।


चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर हतार–हतार पास गर्न खोज्नुले सरकारको स्वार्थ अनि अपारदर्शिता उजागर गरेको छ । सरकार आफू निकट व्यापारी अनि समर्थकका निम्ति खुलेर वकालत गर्दैछ । जसका निम्ति उसले नैतिकता अनि नीति दुबैमा सम्झौता गरेको प्रस्ट देखिन्छ । सत्तारूढ नेकपाले संविधान र कानुनको मर्म अनुरुप आफ्नो पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्‍याउन सकेन । सभामुख अनि उपसभामुख फरक पार्टीको हुनुपर्ने संविधानमै लेखिएको छ । तर नेकपाले यो विषयलाई पनि पेलेरै लान खोज्दैछ । संस्कृत विश्वविद्यालय उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट नियन्त्रणमा लिएर सरकारले पञ्चायतको झल्को दिएको छ । सरकार गठनयता पार्टीका कार्यक्रम अनि बैठक सरकारी निवासमा गर्दै सरकारी स्रोतसाधन दुरुपयोग गरिँदैछ । जवाफदेहिता छैन । छ त केवल दुई तिहाइको दम्भ । सरकारका कदमहरूमा अधिनायकवादको गन्ध आउन थालेको छ ।


सरकार लोकतन्त्रलाई खुम्च्याई शक्तिशाली बनेर विकास गर्न सकिन्छ भन्ने मनस्थितिमा छ । तर शक्ति नागरिकलाई साथमा लिएर, नागरिकको दिनचर्यामा परवर्तन ल्याउने सानो–सानो काम गरेर आउने हो । पानीजहाज, रेल, रकेट आदिका गफले जनताको मन जित्न सकिँदैन ।


केपी ओली सरकार नागरिकलाई विरोध गर्न नदिने अनि गोविन्द केसीलाई गलाउने रणनीतिमा देखिन्छ । केसीलाई जागिरबाट निकाल्न खोज्दैछ । प्रधानमम्त्री ओली नै वक्तव्यबाजीमा उत्रँदैछन् । पुरै देशको अभिभावक प्रधानमन्त्री यसरी केही व्यक्तिमा खुम्चनु सरकारकै निम्ति राम्रो संकेत होइन । लोकतन्त्रका निम्ति शुभ होइन । हुन त सत्ता कब्जाको प्रशिक्षण लिएर आएका नेतृत्वहरूले सरकार सञ्चालन गरिरहँदा यस्तो देखिनु अनपेक्षित होइन । साथै अहिलेका राजनीति अनि सरकार सञ्चालनका प्रमुख दुई व्यक्तिहरू ओली अनि प्रचण्डलाई सैद्धान्तिक हिसाबमा लोकतन्त्रप्रति विश्वास छैन । हुँदो हो त जसरी पनि दुई तिहाइ बहुमत पुर्‍याउने होडमा लाग्दैनथे । लोकतन्त्रको सुन्दरता नै प्रतिपक्ष हो । तर ओली संसदलाई एकलौटी बनाउनतिर लागे । यसबाट पनि उनीहरूको लोकतन्त्रप्रतिको आस्था बुझ्न सकिन्छ । यो सरकारले के बुझ्न जरुरी छ भने लोकतन्त्रमा मत अनि सत्ता एउटा पाटोमात्र हो । सर्वसम्मतले निर्णय गरे पनि जनताको हितमा छैन भने त्यो लोकतान्त्रिक हुन सक्दैन ।


ली क्वान युले सिंगापुरमा सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा लगाएको प्रतिबन्ध अनि त्यसपछि गरेको उपलब्धिबारे पढेर वा पढेकाको सुझावमा ली क्वान यु बन्न निस्केका नेताहरूले के बुझ्न जरुरी छ भने नेपाली समाज अनि अहिलेको यो डिजिटल युगमा त्यो सम्भव छैन । यो खुला समाज हो । नेपाली समाजको चरित्र लोकतान्त्रिक छ । नेपालमा अंकुश लगाएर शासन गर्न सम्भव छैन । विगतमा जसले प्रयास गरे, सबै असफल भएका छन् ।


२०६५ सालमा प्रचण्डको बहुमत सरकारले प्राथमिकता तोकेर काम नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको थियो । शक्ति प्रदर्शन गर्न सेनापतिमा हात हाल्दा सत्ताबाटै हात धुनुपर्‍यो । करिब १० वर्षपछि ओलीको सरकारले पनि आफ्नै घोषणापत्रमा उल्लिखित प्राथमिकता छाडेर निषेधित क्षेत्र तोक्ने, वक्तव्यबाजी गर्ने, गोविन्द केसीको आन्दोलनलाई अवमूल्यन गर्ने काम गरिरहेको छ ।


२० औं शताब्दीमा धेरै देशमा लोकतन्त्रकै सिँढी टेकेर अधिनायकवाद आएको थियो । सैनिक आक्रमण, संवैधानिक कू, राजनीतिक दलमाथि प्रतिबन्ध, नरसंहार, बल प्रयोग गरेर अधिनायकवादीहरू सत्तामा पुगेका थिए । तर २१ औं शताब्दीमा अधिनायकवादीहरू चुनावबाटै जितेर सरकारमा पुग्छन् । जनतालाई सपना अनि योजनाका ठूलठूला वाचाले लठ्याइन्छ । साथै कार्यकर्ता अनि राजनीतिक दलालहरूमार्फत नागरिकलाई अलमल्याउने, झुक्याउने काम गरिन्छ । अनि गणितको राजनीतिमार्फत नियम, कानुन बनाउँदै लोकतन्त्रको आवरणमा अधिनायकवादलाई प्रोत्साहन दिइन्छ । ओली सरकार पनि त्यही पथमा अग्रसर देखिन्छ । उसले प्रतिपक्ष मानेको देखिएको छैन । प्रेसलाई अंकुश लगाउन खोज्दैछ । सरकार नागरिक समाजलाई कमजोर बनाउने अनि बेवास्ता गर्ने रणनीतिमा देखिन्छ । नागरिकको हक–अधिकार कटौती गर्दैछ । आफ्नो प्राथमिकताभन्दा बाहिरका विषयहरूमा हात हालेर शक्ति आर्जन गर्न खोज्दैछ । तसर्थ लोकतन्त्र खतरामा छ । लोकतन्त्र बचाउन हामीले सरकारलाई कमजोर बनाउनेतर्फ होइन कि प्रतिपक्ष, मिडिया, नागरिक समाज अनि अदालतलाई बलियो बनाउने दिशातर्फ अघि बढ्नुपर्छ । यो अधिनायकवादको छायालाई लोकतन्त्रको प्रकाशले हटाउन जरुरी छ ।
पाण्डे विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन् ।

Page 8
विदेश

नेटोको सुरक्षा बजेट बढाउने सहमति

- कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्रोएसियाली समकक्षी कोलिन्दा ग्राबर किटारोभिचका साथ नेटो सम्मेलनमा । तस्बिर : रोयटर्स

ब्रसेल्स (बीबीसी/एएफपी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का गठबन्धन राष्ट्रहरू सुरक्षा खर्च बढाउन सहमत भएको जनाएका छन् ।


ब्रेल्जियमको राजधानी ब्रसेल्समा भएको दुई दिने नेटो सम्मेलनपछि बोल्दै ट्रम्पले गठबन्धन राष्ट्रहरू रक्षा खर्च बढाउन सहमत भएको दाबी गरे । उनका अनुसार नेटो आवद्ध राष्ट्रहरू आफ्नो वार्षिक कुल गार्हस्थ उत्पादनको २ प्रतिशतभन्दा बढी बजेट थप गर्न सहमत भएका हुन् ।
राष्ट्रपति ट्रम्पले नेटोको कुल खर्चमा अमेरिकाको तुलनामा अन्य सदस्य राष्ट्रले निकै कम बेहोरेको भन्दै आलोचना गर्दै आएका थिए । ‘हामी आज निकै ठूलो उपलब्धि हासिल गर्‍यौं,’ बैठकपछि संवाददातासँग बोल्दै ट्रम्पले भने, ‘बैठक कक्षभित्र त्यो निकै गजबको क्षण थियो ।’ यसअघि ट्रम्पले नेटो साझेदार राष्ट्रले कुल गार्हस्थ उत्पादनको कम्तीमा ४ प्रतिशतसम्म सुरक्षा खर्चमा वृद्धि गर्न आग्रह गरेका थिए ।


जर्मन चान्सलर एन्जेला मर्केलले ‘नेटो आवद्ध राष्ट्रबाट बजेट थप गर्ने विषयमा प्रस्ट प्रतिबद्धता’ रहेको जनाइन् । ट्रम्पले नेटोको बजेटमा अरू देशको तुलनामा जर्मनीले कम खर्च बेहोर्ने गरेको भन्दै जर्मनीको तीव्र आलोचना गर्दै आएका थिए ।


ट्रम्पले आफ्नो कारणले बजेट वृद्धि भएको भन्दै नेटो प्रमुख जेन्स स्टोल्टेनवर्गले प्रशंसा गरेको दाबी गरे । यद्यपि, स्टोल्टेनवर्गले भने यसबारे केही उल्लेख गरेका छैनन् । उनले लक्षित २ प्रतिशतको लक्ष्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको जनाइएको छ ।


रक्षा बजेट रकम वृद्धिसम्बन्धी पत्रकारको प्रश्नको जवाफमा स्टोल्टेनवर्गले भने, ‘२ प्रतिशतको लक्ष्य नै भेट्न नसकिएको अवस्थामा हालका लागि त्यसतर्फ केन्द्रित हुनु राम्रो हो ।’


अफगानिस्तान र सिरियाबारे छफफल

बेल्जियमको राजधानी ब्रसेल्समा मंगलबार र बिहीबार भएको नेटो सम्मेलनमा अफगानिस्तान तथा सिरियाको सुरक्षाका विषयमा समेत छलफल भएको छ । सम्मेलनमा अफगानिस्तानमा नेटो सैनिक भए पनि हिंसा अन्त्य हुन नसकेको भन्दै नेटो साझेदार राष्ट्रबीच कुराकानी भएको हो । त्यसैगरी सम्मेलनका क्रममा साझेदार राष्ट्रबीच सिरियामा जारी गृहयुद्धबारे पनि कुराकानी भएको छ । उक्त छलफलमा लिबियामा जस्तै सिरियामा पनि नेटो सेनाको तैनाथ गर्नुपर्ने विषय उठेको थियो ।

विदेश

अफगानिस्तामा बेलायती सेना थपिने

- कान्तिपुर संवाददाता

लन्डन (एएफपी)– बेलायत सरकारले अफगानिस्तानमा थप सैनिक पठाउने जनाएको छ । अफगानिस्तानमा शान्ति स्थापना र स्थायित्वका लागि बेलायतले थप ४४० सैनिक पठाउन लागेको प्रधानमन्त्रीले टेरेसा मेले जनाकारी दिएकी हुन् ।


मेको निर्णयको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन् । पछिल्लो समय अफगानिस्तानमा शान्ति स्थापनामा चुनौती थपिएको जनाउँदै ट्रम्पले अफगानिस्तानमा तैनाथ बेलायती सेनाको संख्या थप्न आग्रह गरेका थिए ।


अमेरिकाका साथै नेटो गठबन्धनले समेत उक्त आग्रह गरेपछि मे थप सेना पठाउन सहमत भएकी हुन् । उनले ब्रसेल्समा बिहीबार सम्पन्न नेटो सम्मेलनका क्रममा उक्त घोषणा गरेकी हुन् ।


थप गरिएका सेनाले अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि अफगान सेनालाई सघाउने जनाइएको छ । मेको घोषणसँगै अफगानिस्तानमा बेलायती सेनाको संख्या १ हजार १ सय पुग्ने भएको छ । अफगानिस्तामा हाल १६ हजार नेटो सैनिक छन् ।

Page 9
विश्वकप अपडेट

क्रोएसियाको ऐतिहासिक यात्रा

क्रोएसिया दुई घण्टाको प्रतिस्पर्धामा इंग्ल्यान्डलाई २–१ ले हराएर पहिलोपल्ट विश्वकपको फाइनल पुगेको छ । टोलीले आइतबार हुने फाइनलमा पूर्व च्याम्पियन फ्रान्सको सामना गर्नेछ ।
- राजु घिसिङ
इंग्ल्यान्डविरुद्ध अतिरिक्त समयमा विजयी गोल गरेपछि खुसी मनाउँदै क्रोएसियाका मारियो मान्जुकिच (अगाडि) ।तस्बिर एपी

मस्को– लियोनल मेसी नेतृत्वको अर्जेन्टिनालाई समूह चरणमा ३–० ले पराजित गरेपछि क्रोएसियाका कप्तान लुका मोड्रिचले भनेका थिए, ‘सन् १९९८ को उपलब्धि उछिन्ने यसपालिको हाम्रो अभियान हो ।’ मारियो मान्जुकिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसिया २–१ ले इंग्ल्यान्डलाई हराएर बुधबार विश्वकप फाइनलमा प्रवेश गरेसँगै मोड्रिच टिमको लक्ष्य पनि पूरा भयो ।


क्रोएसिया पहिलोपलट विश्वकपको फाइनल पुगेको हो । सेमिफाइनल पार गर्ने लक्ष्य पूरा भए पनि अब उसको योजना आइतबार लुजनिकी रंगशालामा फ्रान्सलाई हराएर विश्वविजेता बन्ने हुनेछ । स्वर्णम पुस्ताका रूपमा लिइएका दुई टिम बेल्जियम र इंग्ल्यान्ड भने तेस्रो स्थानका लागि शनिबार सेन्ट पिटर्सबर्गमा प्रतिस्पर्धा गर्नेछन् ।


डाभोर सुकरप्रेरित क्रोएसिया विश्वकप १९९८ मा सेमिफाइनल पुगेको थियो, जहाँ उसलाई आयोजक फ्रान्सले फाइनल पुग्नबाट रोक्यो । त्यस विश्वकपमा ६ गोलसहित गोल्डेन बुट जितेका सुकर अहिले क्रोएसियाली फुटबल महासंघका अध्यक्ष छन् । सुकरको नाममा क्रोएसियाका लागि सर्वाधिक ४५ गोलको कीर्तिमान यथावत छ । तर, विश्व फुटबलको महाकुम्भमा भने उनको टिमको कीर्तिमानलाई मोड्रिच नेतृत्वको समूहले यसपालि रुसमा सुधार गरिदियो ।


लुजनिकी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा जितको हकदार इंग्ल्यान्डलाई मानिएको थियो । अग्रता पनि उसैले लियो । विंगर काइरन ट्रिपियरले २० यार्डबाट प्रहार गरेको फ्रि–किक पाँचौं मिनेटमै सुन्दर गोलमा परिणत भएको थियो । उनले मानवीय पर्खाल नघाएर दाँयातर्फ ‘टप कर्नर’ मा बललाई जालीको सम्पर्कमा पुर्‍याए । त्यसलाई रोक्ने प्रयास गरे पनि क्रोएसियाका गोलकिपर डानियल सुबासिचको केही सीप चलेन र ट्रिपियरले विश्वकपमा गोलको खाता खोले ।


प्रतियोगितामा ट्रिपियरको पहिलो गोलको खुसीयालीले रंगशालामा लामो समयसम्म गुन्जिएको थियो । इंग्ल्यान्डबाट विमान चार्टर गरेरसमेत आएका उसका समर्थकले
फाइनल यात्रा पक्का भइसकेजस्तै गरी खुसीयाली मनाएर ‘थ्री लायन्स’ लाई हौसला दिइरहेका थिए । अर्कोतर्फ क्रोएसियाली समर्थक ‘गोल गोल क्रोएसिया’ भन्दै मोड्रिचको टिमको
जोश बढाइरहेको थियो ।

जितपछि सामूहिक खुसीमा क्रोएसियाली टोली । 


अन्तिम १६ मा कोलम्बिया र क्वाटरफाइनलमा स्वीडेनलाई पराजित गरेको इंग्ल्यान्डले क्रोएसियाविरुद्ध पहिलो हाफमा आकर्षक खेल पस्कँदै ५२ वर्षपछि विश्वकपको फाइनल खेल्ने सम्भावना बलियो बनाएको थियो । पहिलो हाफमै इंग्ल्यान्डले अग्रता दोब्बर पार्ने अवसर पनि पाएको हो । तर जेसी लिङगार्डको पासमा कप्तान ह्यारी केनको फितलो प्रहार गोलरक्षक सुबासिच रोकिदिए र रिबाउन्डमा उनले खाली पोस्टमा हानेको बलमा पोल बाधक बन्यो ।


अन्तिम १६ मा डेनमार्क र क्वाटरफाइनलमा आयोजक रुसविरुद्ध पेनाल्टी सुटआउटमा जित हात पारेकाले क्रोएसियाली खेलाडी थकित भएको अनुमान गरिएको थियो । त्यसको फाइदा इंग्ल्यान्डलाई हुनसक्थ्यो । तर, दोस्रो हाफमा क्रोएसिया खेलमा फर्कियो । उसले बल नियन्त्रणमा राख्दै आक्रमणका लागि उपयुक्त अवसर खोजिरह्यो ।


राइट ब्याक सिमे भारसाल्कोको क्रसमा इभान पेरिसिचले इंग्ल्यान्डका डिफेन्डर केली वाकरलाई उछिनेर प्रहार गरेको बलले क्रोएसियालाई ६८ औं मिनेटमा १–१ को बराबरीमा पुर्‍यायो । पेरिसिचको बुट हेडर गर्ने प्रयासमा रहेका वाकरको टाउकोमा लागेको भए प्रतियोगितामा उनको दोस्रो गोलले मान्यता पाउने थिएन, खेलको कथाले पनि अर्कै मोड लिन सक्थ्यो ।

खेल सकिएपछि गोलरक्षक ड्यानियल सुबासिच र डिफेन्डर डोमागोज भिडा । 


बराबरी गरेको चार मिनेटभित्रै क्रोएसियाले अग्रता लिने अवसर पाएको हो । तर, पेरिसिचले सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल पोलमा लागेर फर्कियो । रिबाउन्डमा एन्टे रेबिकले हान्दा बल सिधै गोलकिपर जोर्डन पिकफोर्डको हातमा पुग्यो ।


इंग्ल्यान्डको डिफेन्समा जोन स्टोन्स, ह्यारी मगायर र एस्ले योङको तुलनामा वाकरको प्रदर्शन अलि कमजोर थियो । त्यसैले पनि क्रोएसियाली आक्रमणको निसानामा वाकर नै परेका थिए । हुन त एस्ले योङलाई पनि एन्टे रेबिकले बारम्बार उछिनेका थिए । मोड्रिच, इभान राकिटिच, रेबिक र पेरिसिचले पूर्ण रूपमा मिडफिल्डमा कब्जा जमाएका थिए । इंल्यान्डका डेले अली, लिङगार्ड, जोर्डन हेन्डरसन पनि कमजोर देखिए । मिडफिल्डमा ट्रिपियरमात्रै लयमा थिए ।


६ गोलसहित गोल्डेन बेटको होडमा अगाडि रहेका ह्यारी केन पनि डेजान लोभरेनको निगरानीबाट उम्कन सकेनन् । रहिम स्टर्लिङले पहिलो हाफमा डोमागोज भिदालाई दबाबमा राखे पनि उनी दोस्रो हाफमा फिक्का देखिए । उनको स्थानमा ७४ औं मिनेटमा मार्कस रासफर्ड मैदानमा प्रवेश गरे पनि उनले आफ्नो प्रभाव देखाउन सकेनन् । गारेथ साउथेगटको टिमका जोन स्टोन्स, मगायर, ट्रिपियर र पिकफर्डको प्रदर्शनमात्रै उस्तै देखिएको थियो । यसअघि दुई गोल गरिसकेका स्टोन्सले ९८ औं मिनेटमा गरेको हेडरलाई खाली पोस्टबाट सिमे भारसाल्कोले क्लियर गर्दै संकट टारेका थिए ।

क्रोएसियाली समर्थकको उत्साह । 


युभेन्ट्सका ३२ वर्षीय फरवार्ड मारियो मान्जुकिचले बारम्बार इंग्ल्यान्डको डिफेन्सलाई दु:ख दिइरहेका थिए । म्यान अफ द म्याच पेरिसिचको क्रसमा अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी टाइममा क्रसमा मारियो मान्जुकिचले गरेको प्रहारमा पिकफर्डले लोभलाग्दो बचाउ गर्दै इंग्ल्यान्डलाई जोगाएका थिए । तर, पिकफर्डले १०९ औं मिनेटमा भने मान्जुकिचलाई रोक्न सकेनन् ।


सब्स्टिच्युट जोसिप पिवारिचको क्रसमा वाकरले क्लियर गर्न नसकेको बल पेरिसिचको खुट्टामा पुग्यो । उनले पेनाल्टी क्षेत्रमा बल मान्जुकिचलाई दिए । मान्जुकिचको बायाँ खुट्टाको फिनिसिङ उत्कृष्ट रहयो । त्यही २–१ को अग्रता जोगाएर क्रोएसिया पहिलोपल्ट विश्वकपको फाइनलमा प्रवेश गर्‍यो । विश्वकपमा उसको यो पाँचौं सहभागिता हो ।


इंग्ल्यान्ड फाइनलमा पश्चिम जर्मनीलाई हराएर सन् १९६६ मा च्याम्पियन भएको थियो । त्यतिबेला क्रोएसियाले स्वतन्त्र देशको रूप पनि लिएको थिएन । फुटबलको जन्मदाता इंग्ल्यान्ड दोस्रोपल्ट सेमिफाइनलमा रोकिएको हो । उसलाई विश्वकप १९९० मा जर्मनीले अन्तिम चारमा हराएको थियो ।

 

 

तथ्यहरू
-क्रोएसिया विश्वकपको पाँचौं सहभागितामा पहिलोपल्ट फाइनल प्रवेश गरेको हो ।
-इंग्ल्यान्डले २१ औं शताब्दीमा सर्वाधिक तीन खेलमा क्रोएसियाविरुद्ध हार बेहोर्‍याो, जुन अरु कुनै टिमसँग भन्दा बढी हो ।
-इंग्ल्यान्ड ठूला प्रतियोगिताको सेमिफाइनलमा पाँचमध्ये चार खेलमा हारेको हो । सेमिफाइनलमा उसलाई युरो २०६८ मा युगोस्लाभिया, विश्वकप १९९० मा पश्चिम जर्मनी, युरो १९९६ मा जर्मनी र विश्वकप २०१८ मा क्रोएसियाले पराजित गरेको हो ।
-क्रोएसिया सन् १९९० मा इंग्ल्यान्डपछि विश्वकपमा लगातार तीन खेलमा अतिरिक्त समयमा प्रतिस्पर्धा गर्ने पहिलो टिम हो ।
-यस विश्वकपमा पाँच खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसमध्ये चार खेलमा क्रोएसिया र इंग्ल्यान्ड सहभागी थिए । अर्को एक खेल स्पेन र रुसबीच भएको थियो ।
-इंग्ल्यान्डले सेट पिसमा यसपालि ९ गोल गरेको छ, जुन कुनै पनि टिमले १९६६ यता सेट पिसमा गरेको भन्दा धेरै गोल हो ।
-काइरन ट्रिपियर इंग्ल्यान्डका फ्रि–ककमा सिधै गोल गर्ने डेविड बेकहयाम (विश्वकप २००६ मा इक्वेडरविरुद्ध) यताका पहिलो खेलाडी हुन् ।
-इभान पेरिसिच ठूला प्रतियोगितामा सबैभन्दा धेरै १० गोल (६ गोल, ४ एसिस्ट) मा सहभागी हुने क्रोएसियाली खेलाडी हुन् । उनले डाभोर सुकर (९ गोल, १ एसिस्ट) लाई उछिने ।

Page 10
विश्वकप अपडेट

‘नेयमरले आफैंलाई हेर्नुपर्छ’

- कान्तिपुर संवाददाता

मस्को (रोयटर्स)– ब्राजिली फरवार्ड नेयमरको नाटकले जग हँसाइरहेको नेदरल्यान्ड्सका पूर्व फरवार्ड मार्को भान बास्टेनले बिहीबार बताएका छन् । विश्व फुटबल महासंघ (फिफा) को डेभलपमेन्ट प्रोजेक्टका मुख्य अधिकारी रहेका उनले आफ्नो भूमिकाबारे बोल्दै नेयमरले एकपल्ट आफैंलाई हेर्नुपर्ने जनाए ।


‘सामान्य रूपमा हेर्दा यो राम्रो व्यवहार होइन । जे गर्ने हो आफ्नो उत्कृष्ट हिसाबले त्यो पनि खेलकुद सिद्धान्तमा रहेर गर्ने हो । तर नाटक नै गरिरहेपछि त्यसले तपाईलाई सहयोग गर्दैन,’ भान बास्टेनले सञ्चारमाध्यमसँग भने, ‘मैले देखेको यो पक्षमा उनले आफंै विचार गरिरहेका होलान् जस्तो लाग्छ । खेलमा रमाउलो हुनु स्वाभाविक हो र उनले मान्छे हँसाइरहेका छन्, सकारात्मक त्यही हो ।’


निश्चय पनि नेयमरमाथि विश्वकपमा केही निर्दयी टयाकलहरू भएका थिए । तर नेयमरले गरेका नाटकले विशेष गरी उनी युरोपमा हाँसोको पात्र बनेका थिए । यद्यपि फिफाको विश्वकप प्राविधिक स्टडी समूहमा रहेका कार्लोस अल्बर्टो परेइराले नेयमर कहिलेकाहीं चुटिन पुग्दा पनि न्याय नपाएको जनाएका छन् ।


‘उनीमाथि धेरै फाउल हानिएको छ, धेरै पल्ट लडेका छन् । कहिलेकाहीं उनी त्यत्तिकै लडिदिन्छन् । उनको यस्तो खाले व्यवहारले अरुको ध्यान तानिदिन्छन् । तर हामी (ब्राजिली) का लागि उनी अझै खेलाडी हुन्, जसले खेलमा फरक ल्याउन सक्छन्,’ ब्राजिललाई १९९४ को विश्वकप दिलाएका र २००६ को विश्वकप फाइनलमा पुर्‍याएका पेरेइराले भने । छैटौंपल्ट विश्वकप जित्ने ब्राजिलको सपना रुसमा बेल्जियमसँग क्वाटरफाइनलमा २–१ को पराजयसँग टुंगिएको थियो ।

विश्वकप अपडेट

रोचक तथ्य: इंग्ल्यान्डलाई सेमिफाइनल तगारो

- कान्तिपुर संवाददाता

प्रमुख प्रतियोगिताको ५ सेमिफाइनल खेलमा इंग्ल्यान्ड ४ मा पराजित भएको छ । इंग्ल्यान्डलाई युरो १९६८ मा युगोस्लाभियाले, १९९० विश्वकपमा पश्चिम जर्मनीले, युरो १९९६ मा जर्मनीले र यसपल्ट विश्वकपमा क्रोएसियाले पराजित गरेको हो । त्यसविपरीत पाँचौं पल्ट विश्वकप खेलिरहेको क्रोएसिया पहिलोपल्ट फाइनल पुगेको हो । १९९८ मा पहिलोपल्ट विश्वकप खेल्नेक्रममा टोली सेमिफाइनलमा फ्रान्ससँग अग्रता लिएर पनि २–१ ले पराजित भएको थियो ।

त्यही फ्रान्ससँग क्रोएसियाले आइतबार फाइनल खेल्दै छ । शताब्दीयता इंग्ल्यान्ड तीनपल्ट प्रमुख खेलमा क्रोएसियासँग पराजित भएको छ । संयोग के भने युगोस्लाभियाबाट स्वतन्त्र भएको क्रोएसियाले शताब्दीको केही वर्ष अगाडिबाट छुट्टै अस्तित्वको रूपमा खेल्न पाएको हो ।

विश्वकप अपडेट

Player to watch: ड्रिज मर्टेन्स, बेल्जियम

- कान्तिपुर संवाददाता

आक्रामक मिडफिल्डर ड्रिज मर्टेन्स इटालियन क्लब नेपोलीबाट व्यावसायिक फुटबल खेल्छन् । विश्वकपका सुरुआती खेलमा बेल्जियमका लागि उत्कृष्ट प्रदर्शन गरेका मर्टेन्स नकआउट चरणमा भने फरक भूमिकामा देखिए । सेमिफाइनलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरे पनि उनले कम समयमै प्रभाव पारेका थिए । तेस्रो स्थानको खेलमा उनले इंग्ल्यान्डलाई केही समस्या दिन सक्नेछन् ।

 

विश्वकप अपडेट

Player to watch: जोन स्टोन्स, इंग्ल्यान्ड

- कान्तिपुर संवाददाता

म्यानचेस्टर सिटीबाट खेल्दै आएका डिफेन्डर जोन स्टोन्स रक्षात्मक रूपमा मात्र नभएर आक्रामक सेट पिसमा पनि विपक्षीका लागि खतरा साबित हुँदै आएका छन् । जारी प्रतियोगितामा दुई गोल गरिसकेका उनले त्यसयता पनि केही प्रयास गरेका छन् । डिफेन्डर भए पनि पास र बल नियन्त्रणमा विशेष स्किल बोकेका उनले आफ्नो उचाइको फाइदा उठाएका छन् । बेल्जियमको आक्रमण रोक्न उनी इंग्ल्यान्डको मुख्य हतियार हुनेछन् ।

 

विश्वकप अपडेट

हामी थाकेका छैनौं : डालिच

- कान्तिपुर संवाददाता

मस्को– इंग्ल्यान्डविरुद्धको सेमिफाइनल जितेपछि क्रोएसियाका प्रशिक्षक लात्को डालिचले यसो भने : सेमिफाइनल गाह्रो थियो । यसका लागि मेसेडोनियाबाट पनि साथ रहेको म्यासेज पाएको थिएँ । फाइनलमा अझ बढी साथ पाइने आस गर्छु । हाम्रा खेलाडीले पूर्ण रूममा काम गरे । बलियोपन देखाए । नकआउटमा लगातार दुई घण्टा खेलेकाले म खेलाडी परिवर्तन गर्न चाहन्थे तर सबै खेलाडी छरिता देखिए । उनीहरू सबै खेल्न तयार थिए । मेडिकल टिमले केहीलाई घाइते भएको बताइरहेका थिए तर कुनै पनि खेलाडीले खेल्न आफू तयार छैन भनेनन्, अतिरिक्त समयमा पनि । कसैले हात उठाएनन् । हामी थाकेका छैनौं । यो धेरै राम्रो हो ।


हाम्रा खेलाडीले आफ्नो विशेषता देखाए । ६ साताअघि विश्वकप तयारी गर्दा नै मैले मैदानमा फुटबल खेल्न सिकाउँदिन भनेको थिएँ किनभने उनीहरूको क्षमतामा मलाई विश्वास थियो । खेलमा रमाइलो गर्नुपर्छ भनेको थिएँ । त्यसैअनुसार उनीहरूले पूर्ण आत्मविश्वास देखाए । टिमका रूपमा पनि मानसिक र मनोवैज्ञानिक रूपमा बलियोपन देखाए । त्यसैले नकआउटका तीनै खेलमा पछाडि परेर पनि सफलता हात पार्न सक्यौं । यसप्रति गर्व गर्नुपर्छ ।


पहिलो हाफमा हामीले खराब खेलेको होइनौं तर गोल खाएपछि राम्रो गरेका हौं । समग्रमा हामी इंग्ल्यान्डभन्दा राम्रो टिम भएकाले नै फाइनल पुगेका छौं । राकिटिच चलेका थिए । बल पोसेसन हाम्रै राम्रो थियो । सबै तहमा राम्रो टिम हाम्रै थियो । प्रतियोगितामा हाम्रो उत्कृष्ट खेल यही (सेमिफाइनल) हो किनभने अर्जेन्टिनाविरुद्ध हामीलाई कुनै दबाब थिएन ।
टिममा कुनै कमजोरी देख्दिनँ । टिमले राम्रो खेलिरहेको छ । तर फाइनल गाह्रो हुनेछ । पहिला फाइनल पुगेको खुसीयाली मनाउने छौं अनि फ्रान्सविरुद्ध खेल्ने तयारी गर्नेछौं । क्रोएसियाको इतिहास लेखिएको छ । यो हाम्रो लागि ठूलो पुरस्कार हो । राम्रो टिम भएको हामीले देखाइसकेका छौं ।

विश्वकप अपडेट

आजको तस्बिर

- कान्तिपुर संवाददाता


विश्वकप फुटबलको सेमिफाइनलमा बुधबार क्रोएसियासँग पराजित भएपछि लन्डनस्थित हाइड पार्कमा निराश इंग्ल्यान्डका एक जोडी समर्थक । तस्बिर : रोयटर्स

 

Page 11
विश्वकप अपडेट

‘नयाँ युगको सफल सुरुआत’

- कान्तिपुर संवाददाता

मस्को (एएफपी)– इंग्ल्यान्ड कप्तान ह्यारी केनले जारी विश्वकपमा युवाले भरिपूर्ण टोलीले सेमिफाइनलसम्म यात्रा तय गर्नु नयाँ पुस्ताका लागि राम्रो भएको बताएका छन् । उनले प्रतियोगिताको अनुभवलाई युवा टोलीले आउने दिनमा प्रयोग गर्न सक्ने बताए ।


२८ वर्षपछि सेमिफाइनल खेलिरहेको इंग्ल्यान्डले सन् १९६६ पछि फाइनल खेल्ने सुवर्ण अवसर गुमाएको थियो । क्रोएसियाविरुद्ध बुधबार राति पहिलो हाफमा १–० को अग्रता लिनुका बाबजुद इंग्ल्यान्ड अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो । प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा ६ गोलसहित शीर्षस्थानमा रहेका केनले पहिलो हाफमा अग्रता बढाउने राम्रो मौका गुमाएका थिए ।


आउने दिनमा टोलीले अझै धेरै सुधार गर्नेमा भने केन विश्वस्त छन् । ‘अहिले एकदम पीडा भइरहेको छ । तर हामीले भविष्यका लागि धेरै सकारत्मक पक्ष र अनुभव बटुलेका छौं । अब हाम्रो लक्ष्य भनेको २ वर्षपछि हुने युरोपेली च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्नु हुनेछ । हामी ठूला प्रतियोगिता जित्ने लक्ष्य लिएर अगाडि बढ्ने छौं,’ टोटेनहम हट्स्परका फरवार्डले भने ।
‘हामीले ठूला प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सक्छौं भन्ने उदाहरण प्रस्तुत गरेका छौं । अबको लक्ष्य भनेको सेमिफाइनल चरण पुग्न २० वर्ष कुर्नु नपरोस् भन्ने हो । अर्को प्रयासमा पनि हामी उपाधि जित्ने सपना पूरा गर्न लागिपर्नेछौं,’ उनले थपे ।


यस विश्वकपमा अन्तिम चारसम्मको यात्रामा इंग्ल्यान्डले समर्थकको मन जितेको छ । पछिल्ला केही ठूला प्रतियोगितामा इंग्ल्यान्डको लगातार खराब प्रदर्शनले समर्थकहरू खुसी थिएनन् । युरो २०१६ मा आइसल्यान्डसँग पराजित भएपछि आलोचना चरम उत्कर्षमा पुगेको थियो । यसपालि भने टोली समर्थकको मन जित्न सफल भएको छ । बुधबार मस्कोस्थित लुजनिकी रंगशालामा पराजित हुनाका बाबजुद समर्थकहरूले खेल सकिएको एक घण्टासम्म पनि टोलीको सम्मानमा रंगशाला छाडेका थिएनन् ।
‘हाम्रा लागि यो नतिजाले धेरै महत्त्व बोकेको छ । हामीले राष्ट्रको नाम फेरि ठूलो दर्जामा पुर्‍याउन सक्यौं । समर्थकले हाम्रो खेलको मजा लिइरहेका थिए र हाम्रो सुधार गर्ने क्रम यसरी अगाडि बढ्नेछ,’ केनले थपे, ‘पछिल्लो दुई वर्षमा टोलीले निकै सुधार गरेको छ । अहिलेको प्रदर्शनको सकारत्मक पक्ष सँगाल्दै अगाडि बढ्नुको विकल्प हामीसँग छैन । हारका बाबजुद समर्थकहरू लगातार हाम्रो पछाडि रहे, यो गर्व गर्नलायक क्षण हो ।’

 

‘साउथगेटको मिहिनेत’
इंग्ल्यान्ड प्रशिक्षक गारेथ साउथगेटले युवा टोलीलाई अहिलेको आक्रामक र आकर्षक फुटबल खेल्नयोग्य बनाउन निकै मिहिनेत गरेका छन् । यसक्रममा उनले समर्थक र मिडियामा पनि फरक पहिचान बनाए । ‘यो टोली निकै विशेष छ,’ काइरन ट्रिपियरले भने । उनैले पाँचौं मिनेटमा फ्रिकिकबाट गरेको गोलमा इंग्ल्यान्डले सेमिफाइनलमा सुरुआती अग्रता लिएको थियो ।


‘यो सबैको श्रेय प्रशिक्षकलाई जान्छ । मैले उनको प्रभावबारे शब्दमा बयान गर्न सक्दिनँ । उनले एउटै लय कायम गरेर सबैलाई त्यसमा ढाल्न सकेका छन् । हामी सबैलाई एकअर्कासँग नजिक ल्याउन उनले धेरै मिहिनेत गरका छन्,’ ट्रिपियरले भने ।


युवा ट्रिपियर पहिलोपल्ट कुनै अन्तर्रािट्रय प्रतियोगितामा इंग्ल्यान्डको प्रतिनिधित्व गरिरहेका छन् । उनले यस प्रतियोगिताले इंग्ल्यान्डको भविष्य उज्ज्वल रहेको संकेत दिएको बताए । ‘हाम्रो भविष्य उज्ज्वल छ । यो टोली र प्रशिक्षक सँगै काम गर्ने हो भने आउने प्रतियोगितामा अझै विशेष नतिजा आउनेमा ढुक्क छु,’ उनले सुनाए ।

 

विश्वकप अपडेट

इंग्ल्यान्डको लय निरन्तर रहेन

विश्वकप विश्लेषण
- नवीन न्यौपाने

इंग्ल्यान्डले खेलमा नियमित शैलीलाई निरन्तरता दिँदै तीव्र गतिमा आक्रमण गरेर सुरुआत गरेको थियो । सेट पिसमा लगातार सफलता हात पारिरहेको इंग्ल्यान्डले यस खेलमा पनि खाता खोल्न सेट पिसकै सहायता लियो । पाँचौं मिनेटमा काइरन ट्रिपियरले गरेको फ्रिकिक उत्कृष्ट थियो र अग्रता दिलाउन सफल रह्यो । डिफेन्सले बल पाउनेबित्तिकै आक्रमणतर्फ अगाडि बढेको इंग्ल्यान्डले पहिलो हाफमा क्रोएसियाली डिफेन्सलाई केही समस्या दिएको थियो । ह्यारी केन, रहिम स्टर्लिङ र जेसी लिङ्गार्डले बल पाउनासाथ तीव्र गतिमा अगाडि बढेको इंग्ल्यान्डलाई पहिलो हाफमा पाएका अन्य अवसर सदुपयोग गर्न नसक्नु महँगो साबित भयो ।


दोस्रो हाफमा भने पहिलो हाफको लयलाई निरन्तर दिन नसक्नु इंग्ल्यान्डको कमजोर पक्ष रहयो । अग्रता लिएपछि त्यसैलाई बचाएर खेल्ने रणनीति बनाएर आक्रामक रूपमा अगाडि नबढ्नु महँगो साबित भयो । स्टर्लिङलाई निकालेर उनको स्थानमा मार्कस रासफर्ड आएपछि इंग्ल्यान्डको आक्रमण झनै कमजोर बनेको पाएँ । समग्रमा पहिलो हाफमा खेलेको आक्रामक खेल दोस्रोमा पनि निरन्तरता दिएको भए खेल जित्ने मात्र नभएर गोल अन्तर पनि बढाउने सम्भावना रहन्थ्यो । सेट पिसबाहेकको स्थितिमा इंग्ल्यान्डले बिरलै खतरा स्थिति सिर्जना गरायो ।
युवा खेलाडीले भरिपूर्ण इंग्ल्यान्डले प्रतियोगिता सुरु हुँदा सेमिफाइनल पुग्ने अपेक्षा गरिएको थिएन । तर प्रत्येक खेलमा अनुकूल नतिजा निकालेको टोलीले प्रदर्शनमा पनि निखार ल्याउँदै गयो । बुधबार विगतका खेल भन्दा केहि बढी दबाब लिएका कारण पनि इंग्ल्यान्ड सफल हुन सकेन । गोलरक्षक जोर्डन पिकफर्डले राम्रो प्रदर्शन गरे पनि डिफेन्सको गल्तीमा दुवै गोल सम्भव भएको थियो ।


इंग्लिस टोलीमा प्लेमेकरको कमी पनि देखियो ।


क्रोएसियाले पहिलो हाफको सुरुआतमै गोल खाए पनि बल पोसेसनमा ध्यान दिएर संयमित भएर आक्रमण बुनिरहयो । स्वीच प्ले र क्रसिङमार्फत इंग्लिस हाफमा दबाब बनाए पनि गोलपोस्टमा आक्रमण गर्न भने सकेको थिएन । दोस्रो हाफमा केही गति बढाएको क्रोएसियाले पकड जमाउन सफल रहयो । ६८ औं मिनेटमा पेरिसिचले क्रसबाट आएको
बललाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । उनकै गोलपछि लगातार आक्रमणमा देखिएको क्रोएसियाले लगत्तै अर्को मौका पाए पनि पोस्टमा लगेर फर्कनु दुर्भाग्य रहयो ।


नियमित समयमा पाएको मौका सदुपयोग गर्न असफल रहे पनि अतिरिक्त समयको दोस्रो हाफमा भने क्रोएसियाले अपेक्षित अग्रता लियो । इंग्ल्यान्डले बललाई राम्रो क्लियर गर्न नसक्दा डिफेन्स सजग नभएको फाइदा उठाउँदै पेरिसिचको पासमा मान्जुकिचले अग्रता दिलाए । प्रशिक्षक डालिचले खेल अवधिभर बिरलै खतरा बनाएका मान्जुकिचलाई अन्तिम समयसम्म मैदानमा राख्नु उक्त गोलले साबित गरेको थियो । उक्त गोलपछि इंग्ल्यान्डले केही प्रयास गरे पनि सफल भने हुन सकेन ।


पछिल्ला केही खेलमा लगातार अतिरिक्त समयसम्म खेलेको भए पनि क्रोएसिया थकित देखिएको थिएन । फिटनेसमा टोलीले धेरै ध्यान पुर्‍याएको कारण नै यो सम्भव भएको हो । मोड्रिच र राकिटिचजस्ता खेलाडीले आफ्नो अनुभव उपयोग गर्दै मिडफिल्डमा एकछत्र राज गर्न सफल भए ।

Page 12
खेलकुद

निमा र निशालाई रजत पदक

- कान्तिपुर संवाददाता

काठमाडौं– राष्ट्रिय तेक्वान्दो खेलाडी निमा गुरुङ र निशा रावलले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।


पोहाङमा भइरहेको प्रतियोगितामा दोस्रो दिन फाइटतर्फ निमाले ५७ केजीमुनि र निशाले ७३ केजी तौलमाथि रजत जितेका हुन् । पहिलो खेलमा बाई पाएकी निमाले दोस्रो खेलमा इन्डोनेसियाकी खेलाडीलाई १५–१२ अंकले हराउँदै फाइनलमा स्थान बनाइन् । उनी फाइनलमा इन्डोनेसियाकै खेलाडीसँग २२–१० अंकले पराजित भइन् ।


निशाले फाइनलमा काजकिस्तानकी खेलाडीसँग ६–४ अंकको प्रतिस्पर्धात्मक हार बेहोरिन् । ६७ केजीमुनि सेमिफाइनलमा नेपालकी संगीता बस्याल इन्डोनेसियनसँग पराजित भएपछि कांस्यमै सीमित भइन् ।


पुरुषतर्फ पहिलो खेलमै कोरियाका खेलाडीसँग नेपालका वीरबहादुर महरा र भूपेन श्रेष्ठले ‘सी’ क्याटोगरीतर्फ मिश्रित सफलता हात पारे । ६८ केजी तौलका वीरबहादुर ‘सी’ क्याटोगरीको सेमिफाइनलमा कोरियाका खेलाडीसँग पराजित हुँदै कांस्य पदकै सीमित भए । सोही क्याटोगरीको ८० केजीमुनि भूपेनले सेमिफाइनलमा कोरियन खेलाडीलाई १८–९ अंकले हराउँदै फाइनल तय गरे । तर फाइनलमा उनी मलेसियनसँग ११–२० ले स्तब्ध भएपछि रजतमै चित्त बुझाए । टिम फाइटतर्फ नेपालले शुक्रबार खेल खेल्ने कार्यक्रम छ ।
एसियाड तयारीमा रहेको नेपाली तेक्वान्दोले यसै प्रतियोगितामा पहिलो दिन चार पदक जितेको थियो ।

खेलकुद

सुनसरी र कास्कीलाई सफलता

उपराष्ट्रपति कप
- कान्तिपुर संवाददाता
चन्द्रनिगाहपुरस्थित शेरबहादुर दर्लामी खेल मैदानमा बिहीबार भिड्दै सुनसरी र इलामका खेलाडी ।तस्बिर : शिव पुरी

रौतहट– चन्द्रनिगाहपुरमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबलमा बिहीबार सुनसरीले इलामलाई ३–१ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि टाइब्रेकरमा सुनसरीले जित पाएको हो । कास्कीले पाँचथरमाथि २–१ ले नतिजा निकाल्यो ।


शेरबहादुर दर्लामी खेल मैदानमा सुनसरीले सुरुदेखि नै खेलमा पकड बनाएको थियो । तर गोल गर्न सकेन । सुनसरीकी सुस्मिता राईले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको पहिलो फल बल इलामकी गोलकिपर सुजना एल्मोले पञ्च गरेर बाहिर फालिदिइन् । लगत्तै सुनसरीकी हेमकुमारी सेवाले सानदार शट प्रहार गर्दा बल पोलमा लागेर फर्किएको थियो । आक्रामक सुरुआत गरेको सुनसरीका पवित्रा राई, सुस्मिता राई, सोमिका राई र विमला थापाले राम्रो खेल प्रदर्शन गरेका थिए ।


मध्यान्तरपछि ५४ औं मिनेटमा पेनाल्टी पाएको सुनसरीले सदुपयोग गर्न सकेन । पवित्रा राईको प्रहार आउट भयो । इलामले पनि प्रयास पनि सफल भए । उसका खेलाडी अनिता राई, सन्जिवी खनाल र प्रिया राईले राम्रो प्रदर्शन गरे । निर्धारित समयमा गोल नभएपछि टाइब्रेकरमा सुनसरी विजयी भयो ।


अर्को खेलमा कास्कीले पाँचथरलाई २–१ ले पराजित गर्दा सुम्मिता गुरुङ र निशा कोइरालाले गोल गरेका थिए । पाँचथरकी देवीकला राईले एक गोल फर्काइन् ।

खेलकुद

उदयपुर र काठमाडौं विजयी

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबलअन्तर्गत बिहीबार उदयपुर र काठमाडौं विजयी भएका छन् । हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा उदयपुरले महोत्तरीलाई ६–१ र काठमाडौंले नवलपरासीलाई ४–१ ले हराए । उदयपुरको तर्फबाट सरस्वती चौधरीले र नमिता राईले २–२ गोल गर्दा सुस्मिता श्रेष्ठ र मोनिका राईको नाममा १–१ गोल रह्यो । खेलमा महोत्तरीले खासै राम्रो मुभहरू सिर्जना गर्न सकेन भने उदयपुर पाएका मौका सदुपयोग गर्दा फराकिलो अन्तरको जित निकाल्न सफल भयो । उदयपुरकी सरस्वती चौधरी वुमन अफ द म्याच घोषित भइन् ।


काठमाडौंको जितमा मनीषा थापामगरले दुई गोल गर्दा लक्ष्मी तामाङ र पेमा लामाले १–१ गोल गरे । नवलपरासीको तर्फबाट तिलकुमारी मगरले एक गोल गरिन् । पहिलो हाफ १–१ को बराबरीमा टुंगिए पनि दोस्रो हाफमा काठमाडौं हाबी भएको थियो । खेलमा नवलपरासीकी गोलरक्षकले राम्रो प्रदर्शन गरिन् । काठमाडौंकी मनीषा थापामगर वुमन अफ द म्याच घोषित भइन् ।


शुक्रबार रूपन्देही र सिन्धुपाल्चोक तथा सुर्खेत र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

खेलकुद

१५ औं धर्मश्री असोजमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल व्यायाम मन्दिरले आयोजना गर्ने धर्मश्री शारीरिक सुगठन प्रतियोगिता असोज १९ र २० मा हुने भएको छ ।


सहिद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ सालबाट सुरु प्रतियोगिताको १५ औं संस्करणमा करिब ४ सय खेलाडीले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गर्ने मन्दिरले जनाएको छ । ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गराइने छ ।


धर्मश्री च्याम्पियनले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रोले १ लाख ५० हजार, चौथोले १ लाख, पाँचौले ८० हजार, छैटौंले ७५ हजार र सातौं हुनेले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । तौल समूहमा दोस्रो र तेस्रो हुनेले ३० र २० हजार पाउने छन् ।

Page 13
समाचार

सिमकोटमा गाडी भित्र्याउने होड

- जयबहादुर रोकाय
हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालन भइरहेका गाडी । तस्बिर : जयबहादुर 

हुम्ला– राष्ट्रिय सडक सञ्जालमा नजोडिए पनि हुम्लामा पछिल्लो समय गाडी किन्ने लहर चलेको छ । सदरमुकाम सिमकोटसम्म उत्तर–दक्षिण २६ किलोमिटर ट्रयाक खुलेपछि व्यवसायीबीच चारपांग्रे सवारी भित्र्याउने प्रतिस्पर्धा चलेको हो ।


यात्रु ओसारपसारका लागि जिप र सामान ढुवानीका लागि ट्याक्टर खरिद गर्न थालिएको छ । राम्रो आम्दानी हुने भएपछि व्यवसायीले महँगो भाडा तिरेर हेलिकप्टरबाट ढुवानी गरेका हुन् । व्यवसायी लोकजंग शाहीका अनुसार हेलिकप्टरमार्फत सुर्खेतबाट सिमकोटसम्म गाडी ढुवानी गर्दा करिब १० लाख रुपैयाँ खर्च हुने गरेको छ ।


सिमकोटमा अहिले आधा दर्जन जिप र टिपर सञ्चालनमा छन् । सामान ढुवानीका लागि एक दर्जन
ट्याक्टर पनि प्रयोगमा आएका छन् । सडक निर्माणका लागि सिमकोट र आसपासका क्षेत्रमा एक दर्जन एस्काभेटर भित्रिएका छन् ।


कर्णाली करिडोरअन्तर्गत सिमकोटदेखि दक्षिण खार्पुनाथसम्म ११ किलोमिटर र उत्तर हेक्पा खोलासम्म १५ किलोमिटर ट्रयाक खुलेको छ । ट्रयाक खुलेको सडकमा स्थानीयले गाडी सञ्चालन गर्दै आएका छन् । साना गाडीले यात्रु ओसारपसार गर्ने र ट्याक्टरले निर्माण सामग्री ढुवानी गर्छन् । व्यवसायी शाहीका अनुसार इन्धन महँगो भए पनि गाडी सञ्चालनको प्रतिस्पर्धा चलेको छ । मुगु सदरमुकाम गमगढीबाट खच्चडमा इन्धन ढुवानी गरिरहेको उनले बताए । गाडीको ढुवानी भाडा र इन्धन महँगो भएकाले व्यवसायीले ११ किलोमिटर सडकमा मनपरी भाडा लिने गरेका छन् । व्यवसायीले तीन सयदेखि पॉच सयसम्म भाडा असुल्ने गरेको स्थानीयको भनाइ छ ।


गाडी सञ्चालनमा आएपछि मानसरोवर–कैलाश तीर्थयात्रा गर्न आएका भारतीय तीर्थयात्रीसमेत लाभान्वित भएका छन् । कतिपय भारतीय तीर्थयात्री खार्पुनाथस्थित शिवजी मन्दिरमा दर्शनका लागि जाने गरेका छन् । स्थानीय र बाहिरबाट आएकाहरूले गाडी रिजर्भ गरेर खार्पुनाथसम्म आउजाउ गर्ने गरेका छन् । यो वर्ष एक सय ५० बढी भारतीयले खार्पुनाथ मन्दिर दर्शन गरेको व्यवसायी शाहीले बताए । विमानस्थलदेखि होटलसम्म भारतीय पर्यटकलाई ओसार्नका लागि स्थानीय होटलले गाडी खरिद गर्न थालेका छन् । जिल्लामा दर्जनौं गाडी सञ्चालनमा आए पनि यातायात कार्यालय नहुँदा ती गाडी दर्ता भएका छैनन् ।

समाचार

सुरक्षा बैठकमा पुरानै एजेन्डा

- कान्तिपुर संवाददाता

दार्चुला (कास)– पुरानै एजेन्डामा छलफल गर्दै बिहीबार सदरमुकाम खलंगामा नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।


दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले अघिल्लो बैठकको समीक्षा, सीमा सुरक्षाको अवस्था, सीमामा हुने अपराध, वन्यजन्तु तस्करी, मानव वेचबिखन, लागूऔषध ओसारपसार, सीमा जोडिएका क्षेत्रमा दोहोरो सुरक्षा समन्वय लगायतका विषयमा छलफल भएको जानकारी दिए । ‘सीमामा संयुक्त रूपमा विपद् व्यवस्थापन गर्ने, सीमा क्षेत्रमा हुने आपराधिक घटना नियन्त्रण तथा सीमा सुरक्षालाई प्राथमिकतामा राख्ने विषयमा बैठक केन्द्रित भयो,’ उनले भने । बैठकमा दार्चुला र बैतडी तथा भारतको पिथौरागढ जिल्लाका सुरक्षा अधिकारी सहभागी थिए ।


खोतिला पहिरो महाकालीमा खस्दा नदी थुनिएर दुवै देशमा बाढीको जोखिम बढ्न सक्ने भन्दै पहिरो व्यवस्थापन गर्न ठोस निर्णय गरिएको प्रजिअ आचार्यले बताए । ‘सेप्टेम्बर १५ बाट पहिरो व्यवस्थापन कार्य सुरु गर्ने सहमति भएको छ,’ उनले भने । धौलीगंगा जलविद्युतको ड्याम खोल्दा समयमै नेपाललाई जानकारी गराउने विषयमा पनि भारतीय अधिकारीले प्रतिबद्धता जनाएका छन् ।

समाचार

तयार भो मुन्दुम पदमार्ग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पूर्वी पहाडको पर्यटन प्रवद्र्धनमा सघाउन नयाँ पदमार्ग थपिएको छ– मुन्दुम पदमार्ग । नेपाल पर्यटन बोर्डको कार्यालयमा बुधबार भोजपुरबाट निर्वाचित सांसद सुदन किराँतीले पदमार्गको नक्सा सार्वजनिक गरे । टेम्केमैयुङ–साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन समिति र हिमालय म्याप हाउसले तयार पारेको पदमार्ग ट्ेरकिङ एजेन्सी (टान), नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी तथा सरोकारवालाको उपस्थितिमा सार्वजनिक गरिएको हो । कार्यक्रममा पदमार्ग र त्यहाँका दृश्य, स्थानीय उत्पादन र संस्कृति समेटिएको वृत्तचित्र र तस्बिर प्रदर्शनसँगै ‘गाइडम्याप’ समेत वितरण गरियो ।


सांसद राईले पदमार्गको प्रवद्र्धनमा आर्थिक सहयोगका लागि सरकारसँग माग राख्ने बताए । ‘पदमार्ग बनाएर समितिले सराहनीय काम गरेको छ,’ उनले भने, ‘यसको सफल सञ्चालनका लागि देश/विदेशमा प्रचारप्रसारसँगै स्थानीय तहमा चेतना अभिवृद्धि गर्नुपर्छ ।’


उक्त पदमार्ग भोजपुर र खोटाङको सीमास्थित टेम्केडाँडादेखि हाँसपोखरी–मैयुङ हँुदै साल्पा–सिलिचुङसम्म पुग्छ । प्रवद्र्धन समितिले गत पुसमा १३ दिनको प्याकेज बनाएर भोजपुर पुगी स्थलगत अध्ययन गरेको थियो । ‘हामीले पदमार्ग पहिचान गर्ने, म्यापिङ, मार्किङ गर्ने पानीका स्रोत, आवास, होटल, सुरक्षालगायत अध्ययन गरेका थियौं,’ समिति अध्यक्ष रमेश राईले भने, ‘त्यही अध्ययनअनुसार गाइडलाइन तयार पारेका हौंं ।’ नयाँ पदमार्गबारे वेबसाइट पनि आइसकेको उनले बताए । किराँत राई समुदायको बाहुल्य रहेका भोजपुर र खोटाङका संस्कार तथा संस्कृति, भेषभूषा, खानाको प्रवद्र्धन र प्रचारप्रसारलाई पदमार्गमा जोडिएको छ । पदमार्गमा अवलोकन गर्न सकिने जैविक विविधता र हिमशृंखलाहरूलाई मुख्य आकर्षण मानिएको छ । पदमार्ग टेम्केबाटै सुरु हुन्छ । यसको उचाइ समुद्री सतहदेखि २ हजार ९ सय ९५ मिटर छ । हाँसपोखरी–मैयुङक्षेत्र ३ हजार ३ सय ३३ मिटर र साल्पासिलिचुङ क्षेत्र ४ हजार २ सय मिटर उचाइमा पर्छन् ।


१८ वर्षदेखि पर्यटक पथप्रदर्शकको काम गर्दै आएका इन्सु राईका अनुसार यो पदमार्गबाट आठ हजार मिटर माथिका मकालु, ल्होत्से, कञ्चनजंघा, सगरमाथा, ल्होत्सेसार र चोयु गरी ६ वटा हिमाल हेर्न सकिन्छ । यहाँबाट तिब्बत, भारतका दार्जिलिङ, कालिम्पोङ, सिलिगुडी सहर, भुटान, पूर्वी नेपालका १६ वटै जिल्ला प्रस्ट देख्न सकिन्छ । मौसम खुला भएका बेला सूर्योदय र सूर्यास्तको पनि मजा लिन सकिन्छ । सरोकारवालासँग समन्वय गरी विदेशी पर्यटक भित्र्याउने तथा स्थानीयस्तरमा अर्थतन्त्र मजबुत पार्ने मुख्य लक्ष्य रहेको समिति सचिव श्याम सामसोङ बताउँछन् ।

समाचार

बाढीले बगाएर मृत्यु

छोटकरी
- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– कर्रा खोलामा आएको बाढीले बगाएर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–८ का ४० वर्षीय लक्ष्मण सापकोटालाई खोलाले बगाएको हो । पाँच दिनअघि घरबाट निस्केका सापकोटाको शव बिहीबार कर्रा खोलाको पुलनजिक फेला परेको थियो । खोला तर्ने क्रममा बाढीले बगाएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । जिल्लामा मंगलबारदेखि विहीबार बिहानसम्म वर्षा भएको थियो ।

समाचार

कान्तिपुरकर्मीलाई पितृशोक

छोटकरी
- कान्तिपुर संवाददाता

सुर्खेत (कास)– कालिकोटस्थित कान्तिपुरकर्मी तुलाराम पाण्डेलाई पितृशोक परेको छ । उनका ८३ वर्षीय पिता महारूप पाण्डेको बिहीबार खाँडाचक्र नगरपालिका–३, ताडीस्थित निवासमै निधन भएको हो । पाण्डे लामो समयदेखि मुटुरोगका बिरामी थिए । उनका तीन छोरा र छोरी छन् ।

 

Page 14
समाचार

नारायणगढ–मुग्लिन सडक: पुलकै कारण सधैं सास्ती

भौगर्भिक बनावटले पुल निर्माणमा समस्या
- विमल खतिवडा

काठमाडौं– नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत खहरे पुलमा बुधबार साँझ समस्या आएपछि एकतर्फी यातायात सञ्चालन गरिएको छ । पुलको रेलिङ ब्लक खसेपछि मर्मत जारी छ । ‘गाडीले हानेर यस्तो समस्या भएको हो,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले भने, ‘पुल भासिएको होइन, रेलिङमा समस्या आएको छ । मर्मत गर्न २/३ दिन लाग्छ ।’


मुग्लिनबाट कालीखोलासम्मका पुल बढी जोखिममा छन् । त्यसमा पनि खहरे, चिसेन्जी र तुइन खोलाको पुलमा दैनिकजसो समस्या आइरहेको छ । अधिकांश पुलको रेलिङ भाँच्चिएको छ । पुलबाट दुईतर्फी यातायात सञ्चालन गर्दा जाम हुने गरेको छ । साँघुरा पुलले गर्दा दुर्घटनाको जोखिम उच्च छ ।


सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार यो खण्डमा १८ वटा पुल छन् । तीमध्ये ४ वटाको ठेक्का लागेर निर्माण सुरु भइसकेको छ, अन्य १४ वटा भने जस्ताको तस्तै छन् । ती पुलको अहिलेसम्म डिजाइन हुन सकेको छैन । त्यसमध्ये पनि ५ वटा पुल जोखिमयुक्त क्षेत्रमा रहेको थापा बताउँछन् । ‘१४ मध्ये ५ वटा पुलको जिओलोजिकल (भौगर्भिक) र जिओग्राफिकल अवस्था एकदमै जटिल छ,’ उनले भने, ‘त्यही भएर भत्काएर बनाउन सक्ने अवस्था छैन, सँगै बेलिब्रिज राखेर यातायात चलाउन ठाउँ पनि छैन ।’ मुग्लिनतर्फका पुलमा समस्या बढी छ ।


‘के गर्ने, कसरी गर्ने भन्ने दोधारमा छौं,’ थापाले भने, ‘चाइनिजले निर्माण गरिदिएका पुल हुन्, टेक्निकल्ली के गर्ने भन्ने टुंगो लागेको छैन ।’ उक्त खण्डमा पर्ने दासढुंगा (१५ मिटर), खानी (२० मिटर), मौली (१५ मिटर) र जलवीरे (८० मिटर) पुल निर्माण भइरहेको छ । घुमाउरो ठाउँबाट यातायात चलाउनुपर्ने बाध्यता थियो । अहिले सिधै पुल निर्माण भइरहेको छ । ‘साँघुरो र भीर छ, भीरलाई कोट्यायो भने पुलैमा पहिरो आएर तहसनहस हुन सक्छ,’ थापाले भने, ‘अप्ठ्यारो भए पनि त्यहाँ पुल बनाउनुपर्छ, साउनदेखि त्यसको काममा लाग्छौं, डेढ वर्षभित्र बनाइसक्छौं ।’ उनका अनुसार पुलभन्दा माथि बेलिब्रिज हालेर यातायात सञ्चालन गर्न सकिन्छ । ‘पुललाई २ मिटरजति अग्लो बनाएर बेलिब्रिज हाल्दा गाडी नरोकिकनै काम गर्न सकिन्छ ।’


महाशाखाका अनुसार यो खण्ड भएर दैनिक साना–ठूला करिब १० हजार सवारीसाधन गुड्छन् । दैनिक उपभोग्य वस्तु यही सडक भएर राजधानी भित्रिने गर्छ । आयोजनाका इन्जिनियर खनालका अनुसार मुग्लिनबाट नारायणगढतर्फका खहरे, चिसेन्जी, तुइन र कालीखोला पुलमा समस्या छ । नाम्ची पुलमा ठूलो समस्या नरहेको उनले दाबी गरे । ‘यी पुल भएको ठाउँमा अग्ला पहाड छन्, पहाड कटिङ गर्नु जोखिमयुक्त छ,’ खनालले भने, ‘चट्टान साह्रो छ, भौगोलिक बनावट नै अन्यत्रको भन्दा फरक छ ।’ यो सडक खण्डमा दैनिक सवारी चाप बढदो छ । ‘पुलकै कारण बढी जाम हुन्छ,’ इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीले भने, ‘त्यसमा पनि तुइन खोलाको पुलमा बढी समस्या छ, सामान्य सुरक्षा अपनाएर यातायात सुचारु गर्नुपर्ने बाध्यता छ ।’


स्तरोन्नतिक्रममा रहेको सडकमा पुल र पहिरो यात्राका मुख्य बाधक बन्दै आएका छन् । सवारी साधन गुडिरहेको समयमा पहिरो खस्दा ज्यानसमेत जाने गरेको छ । बुधबार १७ किलोमा निर्माणकै क्रममा रहेको सडक भासिएपछि एकतर्फी यातायात सञ्चालन गरिएको छ । इन्जिनियर खनालका अनुसार निर्माणको काम ९६ प्रतिशत सकिएको छ ।

समाचार

ग्वान्जाओ पुगे भद्र र रुपसी

अर्को जोडी साउनभित्रै पठाउने तयारी
- अब्दुल्लाह मियाँ
उपहारको गैंडा लिएर उड्न लागेको चिनियाँ कार्गो विमान । तस्बिर सौजन्य : वेदकुमार ढकाल

काठमाडौं– नेपालले उपहारस्वरूप चीनलाई दिएको ‘भद्र’ र ‘रुपसी’ नामका गैंडा ग्वान्जाओ पुगेका छन् । चिनियाँ कार्गो विमानबाट बिहीबार राति ती गैंडालाई ग्वान्जाओ पुर्‍याइएको हो । नेपाली गैंडा बोकेर चिनियाँ विमान बेलुकी पौने ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो ।


ती गैंडालाई ‘ग्वान्जाओ चेमेलोङ सफारी पार्क’ मा राखिनेछ । उक्त पार्कको हावापानी, बासस्थान, आहार र घाँसे मैदानबारे विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईको नेतृत्वमा गएको नेपाली विशेषज्ञको टोलीले यसअघि नै अध्ययन गरिसकेको छ । प्रधानमन्त्री केपी ओलीले बिहीबार प्रकृति संरक्षण कोषको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा साइटिस निर्यात प्रमाणपत्र, प्रजाति उत्पत्ति प्रमाणपत्रसहित जोडी गैंडा चिनियाँ राजदूत यु होङलाई हस्तान्तरण गरेका थिए । अर्को जोडी पनि साउनभित्रै हस्तान्तरण गर्ने सरकारको तयारी छ । ती जोडी सौराहास्थित ‘बुमा’ मा छन् ।


उपहार दिइएका दुवै गैंडा करिब दुई वर्षका हुन् । भालेको तौल ९ सय र पोथीको तौल करिब १२ सय किलो छ । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार भालेलाई चितवन निकुञ्जको खोरिया मुहान र पोथीलाई निकुञ्जकै सुखीभार क्षेत्रबाट नियन्त्रण लिइएको हो । गत वैशाखमा नियन्त्रणमा लिई सौराहास्थित ‘बुमा’ मा राखेर हेरचाह गरिएको थियो । नेपाली गैंडा राखिने पार्कको अवस्था हेर्न बुधबारै भेटेरिनरी चिकित्सक किरण रिजालसहित वन्यजन्तु प्राविधिकहरू दीपप्रसाद चौधरी र विनोद दराई ग्वान्जाओ गएका छन् । बिहीबार पनि गैंडासँगै निकुञ्जका भेटेरिनरी चिकित्सक कमलप्रसाद गैरे, तीर्थ लामासहित चिनियाँ प्राविधिक गएका छन् । नेपाली प्राविधिकले नयाँ बासस्थानबारे अध्ययन गर्दै खानपिन, तिनका आनीबानी र गतिविधिबारे चिनियाँ प्राविधिकलाई जानकारी गराउनेछन् । नेपाली प्राविधिकले ती गैंडालाई एक महिनासम्म रेखदेख गर्नेछन् । गैंडा नियन्त्रणदेखि हेरचाह, आहार, खानपिन, प्राविधिक तयारी र काठमाडौंसम्म ल्याउन चीनले सरकारलाई डेढ करोड सहयोग गरेको थियो ।


गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले भद्र र रुपसीको ग्वान्जाओ बसाइ स्वस्थ र सुखी हुने विश्वास व्यक्त गरे । ‘यो जोडीले आफ्नै घर ठानेर सुखी र खुसीसाथ रमाएर बाँच्ने अपेक्षा छ,’ ओलीले भने, ‘हामी माइतीजस्ता भए पनि त्यहाँ जाँदा हालखबर बुझ्छौं ।’ गैंडाको जोडीलाई ओलीले भृकुटीसँग जोडे । ‘भृकुटीलाई स्रङचङ गम्पोको जिम्मा लगाएका थियौं,’ ओलीले भने, ‘रुपसीका साथ भद्र पनि पठाएका छौं ।’ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यसले चीन र नेपालबीचको सम्बन्ध गाढा बनाउन थप मद्दत पुर्‍याउने बताए । चिनियाँ राजदूत होङले यी दुर्लभ गैंडाको रेखदेख र हेरचाह गर्ने जिम्मा आफ्नो मुलुकको भएकाले निश्चिन्त बन्न आग्रह गरिन् । यसअघि सरकारले अमेरिका, जापान, थाइल्यान्ड, अस्ट्रियालगायत मुलुकलाई २६ वटा गैंडा उपहार दिइसकेको छ ।

समाचार

‘उपकुलपति नियन्त्रण गम्भीर’

- कान्तिपुर संवाददाता

कामाडौं (कास)– राष्ट्रिय मानव अधिकार आयोगले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई नियन्त्रणमा लिइनु मानव अधिकारको मूल्य–मान्यताविपरीत कार्य भएको जनाएको छ । प्रवक्ता मोहना अन्सारीले एक विज्ञप्ति प्रकाशित गरी उक्त घटनालाई आयोगले गम्भीर रूपमा लिएको जनाएकी हुन् । ‘विश्वविद्यालयका उपकुलपतिजस्तो प्राज्ञिक व्यक्तित्वमाथि भएको यस्तो कार्यबाट व्यक्तिको सामाजिक प्रतिष्ठा र सम्मानको उल्लंघन हुने भएकाले यसप्रति गम्भीर हुन सम्बन्धित सरोकारवालालाई आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्रीको ठाडो निर्देशनमा नियन्त्रणमा लिएर दुव्र्यवहार गरिएको भन्दै कोइरालाले उजुरी दिएपछि आयोगले घटनाप्रति चासो राखेको हो ।


कोइरालालाई कारबाही माग
नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले बुधबार विज्ञप्ति जारी गरी संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई कारबाही गर्न माग गरेका छन् । कोइरालाले विश्वविद्यालय ऐन, नियम, विधि तथा प्रचलित परम्परा उल्लंघन गरेर अनियमितता गर्दै आएको भन्दै उनीहरूले छानबिन गरेर कारबाही गर्न कुलपति तथा प्रधानमन्त्रीसँग माग गरेका हुन् ।

समाचार

नेपाल–जापान सैन्य तालिम गर्न सकिन्छ : रक्षामन्त्री

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र जापानका सेनाबीच आगामी दिनमा सैनिक तालिम सञ्चालन गर्न सकिने बताएका छन् । नवनियुक्त जापानी राजदूत मासामिची सैगोसँग रक्षामन्त्रीले यस्तो बताएका हुन् । शिष्टाचार भेटका लागि रक्षा मन्त्रालय पुगेका राजदूतलाई मन्त्री पोखरेलले नेपाल र जापानबीचको सम्बन्ध कूटनीतिक सम्बन्ध स्थापना अघिदेखिकै भएको बताएको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल लामो संक्रमणपछि स्थायित्वतर्फ अघि बढिरहेको बताउँदै पोखरेलले जापानको सहयोग निरन्तर हुनेमा विश्वास व्यक्त गरेका थिए ।

 

समाचार

कांग्रेस जनसम्पर्क समिति दुई गुटमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेसको संस्थापनइतर पक्षले विधानविपरीत गठित नेपाली जनसम्पर्क समन्वय समिति युरोप’ खारेज गर्न माग गरिरहेका बेला त्यसै विषयलाई लिएर युरोपस्थित विभिन्न देशका जनसम्पर्क समिति विभाजित बनेका छन् ।


कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा केही दिनअघि बोलाएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले विधानविपरीत गठित उक्त समन्वय समिति विघटन गर्न माग राखेका थिए । विघटन गर्ने/नगर्ने विवादकै बीच पार्टीका मुख्यसचिव कृष्ण पौडेलले समन्वय समितिको २१ जुलाईमा हुने भेलामा सहभागी हुन युरोपका जनसम्पर्क समितिहरूलाई पत्र पठाएपछि विवाद चुलिएको हो । युरोपका नौवटा जनसम्पर्क समितिका वर्तमान, पूर्व तथा संस्थापक अध्यक्षले बिहीबार संयुक्त वक्तव्य निकाल्दै भेलामा सहभागी नहुन नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।

 

समाचार

कार्ययोजना सुन्दै ओली

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानमन्त्री केपी ओलीले आर्थिक वर्ष २०७५/७६ मा मन्त्रालयमार्फत सञ्चालन हुने कार्यक्रम कार्यान्वयनबारे मन्त्रीहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार सबै मन्त्री र सचिवलाई बोलाएर ओलीले मन्त्रालयले प्रस्तुत गरेका योजना र कार्यान्वयन विधिबारे सुनेका हुन् ।


सरकारको नीति तथा कार्यक्रम र मन्त्रालयका लागि विनियोजित बजेटअनुसार आर्थिक वर्ष २०७५/७६ का लागि कार्यक्रम तर्जुमा गर्न यसअघि नै प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसअनुसार सबै मन्त्रालय र प्रधानमन्त्री कार्यालयमातहत रहेका कार्यालय र विभागले योजना बुझाएका थिए ।


‘मन्त्रालयले पेस गरेका कार्यक्रमबारे आजदेखि छलफल सुरु भएको छ,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले कान्तिपुरसँग भने, ‘मन्त्रालयको प्रस्तुतिमा गर्न सकिने किसिमको कार्यक्रम मात्र समेटिएका छन् ।’ मन्त्रालयले प्रस्तुत गरेका कार्यक्रमबारे प्रधानमन्त्रीले चाखपूर्वक सुनेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सबै मन्त्रालय र कार्यालयको प्रस्तुति सुनेपछि प्रधानमन्त्रीले सुझाव र निर्देशन दिनेछन् । प्रवक्ता कुँवरका अनुसार सामूहिक रूपमा सबै मन्त्रालयले तयार गरेका कार्यक्रमबारे क्रमश: छलफल हुनेछ । बुधबार सुरु छलफलमा सबै मन्त्रालयका मन्त्री र सचिव सहभागी थिए । यो छलफल केही दिन चल्नेछ ।

Page 15
अर्थ वाणिज्य

संघीय बजेट पारित

छलफलमा सत्तापक्षकै सांसदद्वारा विरोध, पारित गर्दा एकमत
- मकर श्रेष्ठ

काठमाडौं– सरकारले आर्थिक वर्ष ०७५/७६ का लागि सार्वजनिक गरेको बजेट संघीय संसद्बाट पारित भएको छ ।


प्रतिनिधिसभाले असार १८ मा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत बाइसौं संशोधन विधेयक पारित गरेर राष्ट्रियसभामा पठाएको थियो । राष्ट्रियसभाले पनि असार २५ मा संशोधनबिना पारित गरेपछि सरकारलाई बजेट कार्यान्वयन गर्न बाटो खुलेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा चारवटै विधेयक राष्ट्रियसभाबाट पारित भएको सन्देश सभामुखले सदनलाई जानकारी गराएका हुन् । बजेट पारित भएसँगै सरकारलाई साउन १ देखि नै विनियोजन गर्न कुनै बाधा पुग्ने छैन । धेरैजसो करसम्बन्धी व्यवस्था भने जेठ १६ देखि नै कार्यान्वयनमा आइसकेका छन् ।


प्रतिनिधिसभाद्वारा पारित भएको विधेयक राष्ट्रियसभामा पठाउने व्यवस्था छ । राष्ट्रियसभाले पनि संशोधनबिना विधेयक पारित भएमा उक्त विधेयक पारित भएको मानिन्छ । राष्ट्रियसभाले मंगलबार प्रतिनिधिसभालाई संशोधनबिना विधेयक फिर्ताको सन्देश पठाएको थियो । प्रतिनिधिसभाबाट पारित विधेयकलाई राष्ट्रियसभामा सन्देशसहित पठाउनुपर्ने नियमावलीमा व्यवस्था छ । विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणलगत्तै सरकारले बजेट कार्यान्वयन गर्न सक्ने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बताए । ‘प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रियसभाबाट समेत संशोधनबिना पारित भएकाले बजेट पारित भयो,’ उनले भने ।


अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ मा आउँदो आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड र पुँजीगततर्फ ३ अर्ब १३ अर्ब ९९ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको छ । आउँदो आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोततर्फ राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड हुने अनुमान गरिएको छ । यसैगरी वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब र १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट घाटा पूर्ति गर्ने योजना छ ।


सरकारले जनप्रतिनधिहरू प्रत्यक्ष संलग्न रहने गरी प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड रुपैयाँ खर्च गर्ने गरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम पनि अघि सारेको छ । जुन रकम छर्नका लागि राखिएको भन्दै निकै विवादास्पद बनेको छ । तर, पनि धेरैजसो सांसदले रकम कम भएको र खर्च गर्न अप्रत्यक्ष बन्देज लगाइएकामा विरोध गरेका थिए । शैक्षिक प्रमाणपत्र धितो राखी ऋण दिने कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यसमा ५ प्रतिशत ब्याज अनुदानमा ७ लाख रुपैयाँ ऋण उपलब्ध गराउने योजना सरकारको छ । सरकारले एक तिहाइ रकम प्रदेश र स्थानीय तहलाई विनियोजन गर्दै आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याएको हो ।


सबै स्थानीय तहमा १५ शय्याको अस्पताल, प्रधानमन्त्री रोजगार कार्यक्रम, फास्टट्रयाक, मध्यपहाडी र हुलाकी राजमार्ग पाँच वर्षभित्र पूरा गर्ने, मेट्रो रेल तथा जलमार्ग पूर्वतयारीका लागि बजेटको व्यवस्था गरेको छ । सहरी क्षेत्रमा घरजग्गा व्यवसाय र निरन्तर खरिद बिक्रीमा कडाइ गरिएको छ ।


सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाए पनि दुवै सदनबाट बजेट बहुमतले पारित भएको हो । मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्दै सत्तापक्षका सांसदले समेत बजेट माथिको छलफलमा विरोध जनाएका थिए । विनियोजन विधेयकको छलफलमा केही सांसदले आफ्नो क्षेत्रमा बजेट नपरेपछि मन्त्रालयले वितरण गरेको बजेटको पुस्तिका नै सम्बन्धित मन्त्रीलाई फिर्तासमेत गरे । केही सांसदले मन्त्रीलाई जेल हाल्नुपर्ने प्रस्ताव राखे । प्रतिपक्षका सांसदभन्दा पनि सत्तापक्षका सांसद सरकारको विरोधमा आएपछि मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल रोक्नुपरेको थियो ।


नेकपा संसदीय दल नेता एवं प्रधानमन्त्री केपी ओलीले सरकारको विरोध नगर्न सांसदहरूलाई बैठकमै निर्देशन दिनुपरेको थियो । जेठ ३० देखि विनियोजन विधेयकको मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल भएको थियो । जसरी प्रतिनिधिसभामा सत्तापक्षका सांसदहरू सरकारले ल्याएको बजेटको विरोध गरे पनि राष्ट्रियसभामा आक्रामक देखिएनन् । प्रतिपक्ष सांसदहरूले पनि बजेट माथि छलफल हुँदा विरोधमा उत्रिएका सत्तापक्षका साांसदहरू पनि विधेयक पारित गर्दा पक्षमा मतदान गरे ।

अर्थ वाणिज्य

उड्ने कारको सपना साकार हुँदै

- कान्तिपुर संवाददाता

क्याफिोर्निया (एजेन्सी)– उड्ने कार निर्माणको सपना मानिसले धेरै अघिदेखि गरेका हुन् । धेरै उपन्यास र फिल्ममा यसबारे कथा बुनिएका छन् । अब भने मानिसले देखेको उड्ने कारको सपना साकार हुँदै छ । धेरै कम्पनीले उड्ने कारको विकासमा अनुसन्धान गरिरहेका छन् । तीमध्ये केही कम्पनी भने परीक्षणको चरणमा छन् ।


अमेरिकाको क्यालिफोर्नियामा नयाँ खाले उड्ने कार सार्वजनिक गरिएको छ, जसलाई उडाउन पाइलटको लाइसेन्स आवश्यक पर्दैन ।


ब्ल्याकफ्लाई नाम दिइएको यो कार १० किलोमिटर प्रतिघण्टाको गतिमा ४० किलोमिटरसम्म उड्न सक्छ । यसलाई निर्माण गर्ने कम्पनीका अनुसार भविष्यमा यो कार गुड्ने खालको स्पोर्ट्स कारकै मूल्यमा उपलब्ध हुनेछ तर सुरुवाती अवस्थामा भने यो केही महँगो पर्नेछ ।
गुगलका सहसंस्थापक ल्यारी पेजको लगानी रहेको अर्को स्टार्ट अप कम्पनी किटी हकले पनि लस भेगसमा व्यक्तिगत रूपमा उडाउन मिल्ने हवाईजहाजको परीक्षण गरिरहेको छ । अन्य केही कम्पनी पनि यस्ता खालका उड्ने कार विकासमा जुटिरहेका छन् ।


ब्ल्याकफ्लाईलाई ओपेनर नामक कम्पनीले निर्माण गरेको हो । यसलाई क्यालिफोर्नियामा परीक्षण गर्नुअघि क्यानडामा परीक्षण गरिएको थियो । क्यानडाको उड्डयन प्राधिकरणले यसलाई उडानका लागि अनुमति दिइसकेको छ ।


किटी हकजस्तै ब्ल्याकफ्लाईलाई सम्भवत: उड्ने कारभन्दा पनि मानिसलाई बोक्न सक्ने ड्रोनका रूपमा व्याख्या गर्दा उचित हुन्छ ।


ब्ल्याकफलाईले एकपटकमा एकजनालाई बोक्न सक्छ । यसका दुई पंखामा रहेको ८ वटा प्रणालीले संयुक्त रूपमा काम गर्छन्, जसले यसलाई उडाउन मद्दत गर्छ ।
यसले घाँसेमैदानबाट उड्दा र ल्यान्ड गर्दा पनि राम्रोसँग काम गर्ने उत्पादन गर्ने कम्पनीले जनाएको छ ।


अमेरिकाका परीक्षणकालीन जहाज एसोसिएसनका निर्देशक डयारेन प्लिसेन्सले ब्ल्याकफ्लाईको उडान हेर्दै भने, ‘मैले यस्तो कहिल्यै देखेको थिइनँ ।’


यसलाई निर्माण गर्ने कम्पनी ओपेनरका अनुसार यो कार उडाउन पाइलट लाइसेन्स आवश्यक पर्दैन तर कसैले चलाउन चाहेमा सुरक्षाका लागि तालिममा भने सहभागी हुनुपर्छ ।
अमेरिकाको संघीय उड्डयन प्रशासनको नियमअनुसार आवश्यक नभए पनि ब्ल्याकफलाईका चालकले निजी पाइलट लिखित परीक्षा र कम्पनीले दिने सवारीको जानकारीसम्बन्धी तालिम पूरा गर्नुपर्छ, कम्पनीले भनेको छ ।


यो उड्ने कारले यसको चालकलाई आनन्द दिने कम्पनीका प्रमुख कार्यकारी मार्कुस लेङले भनेका छन् ।


यसलाई चलाउनेले आफूलाई आवश्यक लागेको हिसाबले प्रयोग गर्न पाउने हुनाले यसको अनुभव अविश्वसनीय हुने यसलाई परीक्षण गरेकाहरूको छ । ब्ल्याकफ्लाई स्वचालित रूपमा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।


ओपेनरले साइन्स फिक्सन सपनालाई बिपनामा परिणत गरेको छ । ड्रोन प्रविधिमा भएको व्यापक विकासका कारण उड्ने कार निर्माण सम्भव भएको हो । ब्ल्याकफ्लाईको सफल उडानले उड्ने कारको सपना थप नजिक ल्याइपुर्‍याएको छ ।


उड्ने कार निर्माणमा ब्ल्याकफ्लाई र किटी हक मात्र होइन उबरजस्ता कम्पनी पनि इच्छुक देखिएका छन् ।


क्यालिफोर्नियाको हिलर उड्डयन संग्रहालय उड्ने कार निर्माणको असफल प्रयासका लागि चिहान नै थियो । यहाँ केही वर्षयता उड्ने कार निर्माणका धेरै असफल प्रयासहरू भएका छन् ।
तर, संग्रहालयका प्रमुख सञ्चालक विली टर्नर भने यो पछिल्लो परीक्षणले उड्ने कारको भविष्यलाई धेरै नजिक ल्याउनेछ । उड्डयन प्राधिकरणले यो नयाँ आइडियालाई स्वीकार्नुपर्ने उनको तर्क छ ।


‘अब हामीसँग सफल प्रविधि छ,’ उनी भन्छन् ।


‘तर उड्ययन क्षेत्रको नियमन गर्ने निकायहरूले भने तैंले यो गर्न सक्दैनस्, तैंले त्यो गर्न सक्दैनस् भन्ने मनस्थितिमा छन् । उनीहरूले यस्ता नयाँ प्रविधि बुझ्दैनन्,’ उनको विचार छ ।
उड्ने कार दुर्घटना हुने सम्भावना कत्तिको छ ? यसको जवाफ छ, ‘दुर्घटना हुन सक्छन् तर गुड्ने कारको पनि दिनहुँ दुर्घटना भइरहेको छ ।’

Page 16
अर्थ वाणिज्य

माथिल्लो छन्दी निर्माण हुँदै

- कान्तिपुर संवाददाता

लमजुङ (कास)– दोर्दीको छयाङ्दीखोलामा ४ मेगावाटको माथिल्लो छन्दीखोला साना जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको छ । उक्त खोलामा यसअघि २ मेगावाटको छन्दीखोला साना जलविद्युत् आयोजना निर्माण भइसकेको छ । उक्त आयोजनाको निर्माण कम्पनी छयाङ्दी हाइड्रोपावर लिमिटेडले अहिले ४ मेगावाटको आयोजना निर्माण गर्न लागेको हो । उक्त आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सकिएको आयोजनाका प्रबन्ध सञ्चालक एलबी थापाले बताए । उनका अनुसार आयोजनामा बैंक अफ काठमाडौं (बीओके) को अगुवाइमा कुमारी बैंकले पनि ऋण लगानी गर्ने टुंगो लागेको छ । आगामी कात्तिकदेखि आयोजनाको निर्माण सुरु हुने उनले बताए ।

 

अर्थ वाणिज्य

विराटनगरमा पनि पेट्रोल टयांकरमा ताला

मूल्य अन्तरले बरौनी डिपोबाट विराटनगर डिपोका लागि ढुवानी गर्ने टयांकरका चालकले भारतमै पेट्रोलियम बिक्री गर्दै आएका थिए
- कान्तिपुर संवाददाता

विराटनगर– मूल्य अन्तरका कारण टयांकर चालकले भारतमै डिजेल, पेट्रोल बिक्री गरेर खाली टयांकर नेपाल ल्याउने क्रम बढेपछि भारतको बरौनी डिपोबाट आयल निगमको क्षेत्रीय डिपो विराटनगरका लागि ढुवानी गर्ने टयांकरमा निगमले बिहीबारदेखि आधुनिक ताला लगाएर ढुवानी सुरु गरेको छ ।


पेट्रोलियम पदार्थ ढुवानी गर्न बरौनी डिपो पुगेका ५० वटा टयांकरमा इन्डियन आयल कर्पोरेसनका म्यानेजर एसएस बोस र नेपाल आयाल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले संयुक्त रूपमा ताला जडान गरेर सुरुवात गरेको निगम सञ्चालक समितिका सदस्य अरविन्द्र अग्रवालले बताए ।


पछिल्लो समयमा पनि नेपालमा भन्दा भारतमा डिजेल प्रतिलिटर २६ र पेट्रोल प्रतिलिटर २४ रुपैयाँ महँगो छ । अग्रवालले भने यही मूल्य अन्तरले बरौनी डिपोबाट विराटनगर डिपोका लागि ढुवानी गर्ने टयांकरका चालकले पटकपटक भारतमै पेट्रोलियम बिक्री गरेर खाली टयांकर नेपाल ल्याउने र आन्तरिक ढुवानी गर्दा पनि पम्पलाई नदिई भारत लगेर बिक्री गर्ने गरेकाले त्यसलाई नियन्त्रण गर्न टयांकरमा ताला जडान गरिएको हो ।


विराटनगर डिपोको मातहतमा ३ सय २१ वटा टयांकर छन् । त्यसमध्ये ३ सयवटामा ताला जडान गर्ने सिस्टम तयार गरिएको छ । २० वटाले त्यो सिस्टम बनाएका छैनन् । अग्रवालले भने ताला जडान नगर्ने टयांकरले पेट्रोलियम ढुवानी गर्न पाउने छैन र साउन १ गतेदेखि सबै टयांकरमा अनिवार्य रूपमा ताला जडान गरिनेछ ।


बरौनीमा लगाइएको ताला विराटनगर डिपोमा मात्र खुल्नेछ । उक्त ताला लगाउने र खोल्ने साँचो एक प्रति बरौनी डिपो प्रमुख र एक प्रति विराटनगर डिपो प्रमुखसँग हुने अग्रवालले बताए । यसअघि नेपाल आयल निगमको मेची अञ्चल डिपोका लागि भारतको सिलिगुडी डिपोबाट पेट्रोलियम ढुवानी गर्ने ९० वटा टयांकरमा मार्च १४ देखि ताला जडान गरिएको थियो ।


गत फागुनमा बरौनी डिपोबाट विराटनगर डिपोका लागि २० हजार लिटर डिजेल लोड भएको ना४ख ८७३३ नम्बरको टयांकरका चालक कृष्ण यादवले १६ हजार लिटर भारतमा बिक्री गरी ४ हजार लिटर मात्र नेपाल भित्र्याएर सुनसरीको एक पम्पमा यहाँको मूल्यमा खरिद गरी टयांकर भरेर निगमलाई बुझाएर यादव फरार भएका थिए ।


त्यसैगरी आयल निगमको क्षेत्रीय डिपो विराटनगरबाट सुनसरीका विभिन्न ५ वटा पम्मका नाममा २० हजार लिटर डिजेल लिएर हिँडेको टयांकरका चालकले पम्पलाई नदिई उक्त डिजेल भारतमा लगेर बिक्री गरी टयांकरलाई बेवारिसे अवस्थामा भारतमै छाडेर भागेका थिए ।


ना२ख ४३५२ नम्बरको टयांकरका चालक मुन्नाले सुनसरीको इटहरीका तीनवटा पम्पमा १२ हजार लिटर दिएर बाँकी ८ हजार लिटर डिजेल भारतमा लगेर महँगो मूल्यमा बिक्री गरी टयांकरलाई भारतको बरौनीमा बेवारिसे अवस्थामा छाडेर फरार भएका थिए ।

अर्थ वाणिज्य

अनुदानमा यान्त्रिक हलो

- कान्तिपुर संवाददाता

बागलुङ (रासस)– जैमिनी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो (मिनिटिलर) प्रदान गरेको छ ।


यान्त्रिक हलो पाउनेमा नगरपालिकाभित्रका कृषि समूह, सहकारी र व्यावसायिक कृषक रहेका छन् । चालु आवमा माग भएअनुसार १० वटा ‘मिनिटिलर’ वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।


५० हजार रुपैयाँ पर्ने यान्त्रिक हलो कृषकले २५ हजार रुपैयाँमा पाएका हुन् । नगरपालिकाले आगामी वर्ष पनि कृषिमा अनुदानको कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

Page 17
अर्थ वाणिज्य

सूचीकृत कम्पनी चार वर्गमा बाँडिने

- कान्तिपुर संवाददाता

काठमाडौं– अब धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूलाई चार वर्गमा वर्गीकरण गरिने भएको छ । यसअघि ‘ए’ र ‘बी’ गरी दुई वर्गमा वर्गीकरण गरिँदै आएकामा अब ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी चार वर्गमा विभाजन गरिने भएको हो । धितोपत्र बोर्डले बिहीबारदेखि लागू गरेको धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीमा ०७५’ मा यो व्यवस्था छ । नियमावली साउन १ गतेदेखि लागू हुनेछ ।


जसमध्ये पुँजी आधार, वित्तीय अवस्था, संस्थागत सुशासनका हिसाबले राम्रा कम्पनीलाई ‘ए’ समूहमा राखिने गरी नियमावली तर्जुमा गरिएको बोर्डका अधिकारीले जानकारी दिए । यसैगरी ‘बी’ समूहमा औसतभन्दा राम्रा, ‘जी’ समूहमा सामान्य र ‘जेड’ समूहमा खराब कम्पनीलाई राखिने उनले बताए । हाल नेप्सेले १ सय ९५ सूचीकृत कम्पनीमध्ये १ सय १२ लाई ‘क’ समूहमा राखेको छ ।


नयाँ व्यवस्थाअनुसार बजारमा सूचीकरण भइसकेका कम्पनीले स्वैच्छिक रूपमा सूचीकरण खारेजी गर्न पाउने भएका छन् । स्वैच्छिक सूचीकरण खारेजीका लागि कम्तीमा ९० प्रतिशत सेयरधनीले सूचीकरणको स्वैच्छिक खारेजी निर्णयमा सहमति हुनुपर्नेछ । साधारणसभामा उपस्थित भई सूचीकरणको स्वैच्छिक खारेजीमा असहमति जनाएका सेयरधनीको सेयर उनीहरूले बिक्री गर्न चाहेमा संगठित संस्थाका सञ्चालकले खरिद गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा छ । होटल याक एन्ड यतीलगायत केही कम्पनीले सूचीकरण खारेजीका लागि नेप्सेमा आवेदन दिएका छन् । यसरी खारेजीमा जाने संस्थाका सञ्चालकहरू कम्तीमा तीन वर्ष अन्य कुनै संगठित संस्थामा सञ्चालक बन्न नपाउने व्यवस्था पनि नियमावलीमा छ ।


धितोपत्रको कारोबार सञ्चालनका लागि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) को स्थापना गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा छ । यसबाट विगतमा बोलकबाल प्रथाबाट हुने कारोबार व्यवस्थालाई आधुनिकीकरण गर्न कानुनी रूपमा सजिलो हुने बताइएको छ । यसैगरी धितोपत्र कारोबारमा उतारचढाव हँुदा धितोपत्र बजारले आवश्यकताअनुसार कारोबारमा सर्किट ब्रेकर लगाउने व्यवस्थालाई कानुनी मान्यता दिइएको छ । विगतमा यो व्यवस्था अभ्यासका रूपमा रहेको थियो । ‘उक्त व्यवस्थालाई कानुनी मान्यता प्रदान गरी आवश्यकतानुसार धितोपत्र बजारले परिवर्तन पनि गर्न सक्नेछ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । धितोपत्र कारोबारको राफसाफ सम्बन्धमा अनिवार्य रूपमा राफसाफ कोष खडा गर्नुपर्ने तथा त्यस्तो कोष सञ्चालन गर्न आवश्यक कार्य गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा छ ।


धितोपत्र कारोबारको राफसाफ हाल प्रयोगका रूपमा नेटिङ प्रणालीमार्फत भइरहेकामा नियमावलीमार्फत त्यसलाई नियमनको दायरामा ल्याइएको छ । ‘कारोबार सुपरीवेक्षणका लागि आवश्यक विद्युतीय सुपरीवेक्षण प्रणाली (सर्भेलेन्स सिस्टम) स्थापना गर्नुपर्ने व्यवस्था गरी त्यस्तो सुपरिवेक्षलाई समेत मान्यता प्रदान गरिएको छ,’ बोर्डले भनेको छ ।
यसैगरी सूचीकृत संगठित संस्थाले धितोपत्र बजारबाट कारोबार सम्पन्न भई राफसाफ भएका धितोपत्रलाई सम्बन्धित खरिदकर्ताको नाममा हस्तान्तरण हुने व्यवस्था गर्नुपर्नेछ । अभौतिक रूपमा रहेको धितोपत्रको हस्तान्तरण सम्बन्धमा अन्य व्यवस्था केन्द्रीय निक्षेप सेवासम्बन्धी प्रचलित नियमावली तथा विनियमबमोजिम हुने गरी हस्तान्तरणसम्बन्धी व्यवस्थालाई स्पष्ट गरिएको बोर्डले जनाएको छ । सरकारी ऋणपत्रको कारोबारसम्बन्धी व्यवस्थालाई विशेष रूपमा व्यवस्थित गरी त्यस्तो ऋणपत्रको सूचीकरण गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट पारिएको छ ।

अर्थ वाणिज्य

१३ अंकले घटयो नेप्से

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– आगामी वर्षको मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन सेयर परिसूचक नेप्से करिब साढे १३ अंकले घटयो । सेयर बजारमा सकारात्मक प्रभाव पार्ने कार्यक्रम मौद्रिक नीतिमा नआएको भन्दै लगानीकर्ता निरुत्साहित भएका छन् । यही कारण बिहीबार नेप्से परिसूचक १३.६६ अंकले घटेर १ हजार १ सय ९१.९८ विन्दुमा ओर्लेको हो । उत्पादन तथा प्रशोधन समूहबाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको थियो । अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम पनि घटेको छ । दिनभरको व्यापारमा ४५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । परिसूचक घटेपछि कुल बजार पुँजीकरण पनि साँघुरिएर १४ खर्ब ११ अर्ब रुपैयाँमा सीमित भएको छ ।

 

अर्थ वाणिज्य

नक्कली अन्त:शुल्क स्टिकर प्रकरण: आठजनालाई पौने ६ करोड जरिवाना

- शंकर आचार्य

पर्सा– मदिराको अन्त:शुल्कको नक्कली स्टिकर उत्पादन तथा आयातको कारोबार प्रकरणमा आन्तरिक राजस्व कार्यालय वीरगन्जले बिहीबार आठजनालाई कैद र जरिवाना सजाय सुनाएको छ । प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाको इजलासले उनीहरूलाई जनही १/१ वर्ष कैद र जनही ६ करोड ७८ लाख ७० हजार रुपैयाँ जरिवाना असुल गर्ने फैसला सुनाएको हो ।


यो मुद्दामा विराटनगरका कुलप्रसाद राजभण्डारी, भारत पूर्वी चम्पारणका वीरेन्द्रकुमार महतो, विराटनगरकै प्रकाश घिमिरे र काठमाडौं बूढानीलकण्ठका राजकुमार भण्डारी छन् । उनीहरू हाल पुर्पक्षका लागि थुनामा छन् । सजाय पाएका अन्य चारजना भारत हरियाणाका विनोदकुमार गुप्ता, उनकी पत्नी मधुकुमारी चौधरी, छोरा राहुल र भाइ सतीश गुप्ता भने फरार छन् ।


प्रमुख कर अधिकृत कोइरालाले गरेको फैसलामा ‘आठजनाले संगठित रूपमा मिलेमतो गरी नक्कली अन्त:शुल्क स्टिकर आयात तथा ओसारपसार गरेको देखिएकाले अन्त:शुल्क ऐन २०५८ को दफा ६(१) को खण्ड (घ) मा उल्लेखित कसुर गरेको ठहर्छ’ भनी उल्लेख छ । फैसलामा अगाडि ‘अपराध ठहर्नाले प्रतिवादीहरूलाई अन्त:शुल्क ऐन को दफा १६ को उपदफा १ बमोजिम जनही नक्कली अन्त:शुल्क स्टिकर प्रयोग गर्दा कायम हुने बिगो ३ करोड ३९ लाख ३५ हजार ५८ रुपैयाँ र बिगोबमोजिम जरिवाना ३ करोड ३९ लाख ३५ हजार ५८ रुपैयाँसमेत जम्मा ६ करोड ७८ लाख ७० हजार १ सय १६ रुपैयाँ असुल गर्ने र एक वर्ष कैद ठहर्छ’ भनी उल्लेख छ ।


कोइरालाको इजलासले यसै मुद्दामा प्रतिवादीहरू प्रकाश सापकोटा, सुगम सापकोटा, राधेश्याम पौडेल, पुष्करनाथ दवाडी र अशोककुमार श्रेष्ठसमेत गरी पाँचजनालाई अभियोगबाट सफाइ दिएको छ । उनीहरू कार्यालयमा दिएको बयान पछि सादा तारेखमा यसअघि नै छुटेका थिए ।


गत वर्ष पक्राउ परेका हिमालयन रोडवेजका सञ्चालक विनोदकुमार गुप्ता सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेर तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको इजलासको आदेशबाट रिहा भएका थिए । हाल पक्राउ परेका चारजनासँग कार्यालयले प्रारम्भिक बयानपछि जनही ७/७ करोड रुपैयाँ धरौटी मागेको थियो । धरौटी दाखेल गर्न नसकेपछि उनीहरू जेल चलान भएका थिए । आन्तरिक राजस्व विभागले ग्लोबल टेन्डरबाट मदिराको स्टिकर आपूर्ति गर्ने गर्छ । कार्यालयले कोलकातास्थित नक्कली स्टिकर छाप्ने कम्पनीलाई अनुसन्धानमा ल्याउने प्रयास गरेको थियो तर सकेन ।

Page 18
समाचार

एकै परिवारका तीनको मृत्यु

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– अविरल वर्षाका कारण पहिरो जाँदा चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँ बागेहिटीमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । स्थानीय बुद्ध लामाको एकतले घर भत्कँदा घरमा सुतिरहेका ७० वर्षीय हीराबहादुर लामा, ६५ वर्षीया पानमाया लामा र नातिनी साढे २ वर्षीया सम्पदा लामाको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल पठाएको छ ।


वर्षाले चाँगुनारायण नगरपालिका ४, ५, ६, ७ र ८ वडाका विभिन्न स्थानमा क्षति पुर्‍याएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए । उनका अनुसार चाँगुनारायणमा १२ घर क्षतिग्रस्त भएका छन् । पहिरोमा परेर पशु चौपायासमेत मरेका र धान बाली एवं तरकारीमा क्षति पुगेको समेत नगरपालिकाले जनाएको छ । काठमाडौं–भक्तपुरको सिमाना मनोहरा खोला कटानका कारण चाँगुनारायण–४ कुइँकेल गाउँ पहिरोको उच्च जोखिममा परेको छ ।


कागेश्वरी मनोहरा र चाँगुनारायण नगरपालिकाको समन्वयमा २०२१ सालकै नापीअनुसार मनोहराको बहाव फर्काउने तयारी भइरहेको नगर प्रमुख मिश्रले बताए । यस्तै, अवैधानिक रूपमा नदीबाट बालुवा तस्करी पनि कटानको कारण रहेको स्थानीय इन्दिरा कुइँकेलले बताइन् । ५ वर्षदेखि मनोहराले कटान गर्दै आएको छ । कुइँकेल बस्तीको १० मिटरनजिकै मनोहरा पुगेको छ ।


यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले पहिरोमा मृत्यु भएकाहरूका परिवारलाई १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको प्रजिअ नारायणप्रसाद भट्टले बताए ।


सेनाद्वारा उद्धार
सेनाले अविरल वर्षाका कारण डुबानमा परेका भक्तपुर र काभ्रेका ५६ जनालाई उद्धार गरेको छ । भक्तपुरको राधेराधेबाट ३० र मध्यपुर ठिमीबाट २० तथा काभ्रेको बनेपास्थित पुलबजारबाट चार र नमोबुद्ध नगरपालिकाको रोशी खोलाबीचमा फसेका दुई जनालाई उद्धार गरिएको सेनाले जनाएको छ ।


कम्पोजिट क्विक रेस्पोन्स टिम, वीरदल गण सूर्यविनायक, नं. १ विपद् व्यवस्थापन गण सुन्दरीजल र नं. १४ बाहिनी अड्डा गौचरको टोली भक्तपुरमा र विष्णुदल गण धुलिखेल तथा फस्र्ट रेन्जर बटालियनको डार्टसहित एमआई १७ हेलिकप्टर काभ्रेका विभिन्न भागमा उद्धारमा खटिएको सेनाले जानकारी दिएको छ ।


त्यसैगरी रणचण्डीदल गण खरिपाटीबाट खटिएको टोली चाँगुनारायण नगरपालिका–७ मा घर भत्किएर मृत्यु भएका ३ जनाको शव तथा घरका सामान बाहिर निकाल्ने कार्यमा सक्रिय रहेको सेनाले जनाएको छ ।

समाचार

‘मानवीय संवेदनामाथि खेलबाड नगर्नुस्’

नदीको अतिक्रमणले भक्तपुर डुबानमा पर्‍यो –सांसद सुवाल
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सांसद महेश बस्नेतले डुबानमा परेको भक्तपुरको क्षेत्रलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारको पानीजहाजको योजनासँग तुलना गरेर मानवीय संवेदनामाथि खेलबाड गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले मानवीय पीडामाथि ठट्टा गरेको उनको भनाइ थियो ।


संसद्को विशेष समयमा बिहीबार बोल्दै उनले भने, ‘यसरी सामाजिक सञ्जालमा डुबानमा परेको फोटो राखेर पानीजहाजलाई तुलना गर्नु भक्तपुरवासीको पीडासँग खेलबाड गर्नु हो । सरकारले यसरी मानवीय संवेदनामा खेल्नेलाई साइबर अपराधअनुसार कारबाही गर्न माग गर्दछु ।’


समयमै उद्धार गर्न सफल भएकामा उनले सरकारलाई धन्यवाद दिए । उनले भने, ‘सरकारलाई धन्यवाद दिन चाहन्छु । राति ३ बजेदेखि उठेर सेना, प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् ।’ पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि उनले माग गरे । ‘बाढीले सुकुम्बासीको बस्ती बगाएको छ । भूकम्प पीडितले ज्यान गुमाएका छन् । कतिपय ठाउँमा पुल बगाउँदा आवागमन ठप्प भएको छ । यतातिर सरकारले तत्काल ध्यान दिन आवश्यक छ,’ उनले भने । बिहीबारको बाढीले नयाँ ठिमी र बालकोट जोड्ने फलामे पुल बगाएको छ । सांसद बस्नेतले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सके बाढीपीडितलाई सहयोग गर्न र नसके मानवीय संवेदनालाई मजाक नगर्न आग्रह गरे ।


नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले पूर्वसावधानी नअपनाउँदा बाढीको समस्या भोग्नुपरेको बताए । ‘कुन ठाउँमा घर बनाउने भन्ने सरकारी संयन्त्रले यकिन नगर्दा भक्तपुरको चाँगुनारायणमा पुरुवा माटोमाथि घर बनाउँदा तीन जनाले ज्यान गुमाए,’ उनले भने । सुवालले देशका अन्य ठाउँमा पनि भारतकै कारण डुबान भइरहेको आरोप लगाए । ‘यस विषयमा सरकारको ध्यान जाओस् । हामीलाई अहिले रेल र पानीजहाज चाहिएको छैन,’ उनले भने, ‘जनतालाई शुद्ध खानेपानी चाहिएको छ । जनताले उद्धार कार्य चाहेका छन् । सरकारले पूर्वसावधानी अपनाएर डुबान र पहिरोको सुरक्षा दिओस् । भक्तपुर डुबान हुनुमा नदीको अतिक्रमणले भएको हो ।’

Page 19
कला र शैली

नेपालभाषा पुरस्कार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपालभाषा परिषद्ले कविकेशरी चित्तधर हृदयको ११२ औं जन्मजयन्ती अवसर पारेर छ सर्जकलाई सम्मानित गरेको छ । राजधानीमा राजधानीमा आयोजित समारोहमा कथाकार यज्ञरत्न धाख्वा:लाई भाषाथुवा:, कवि योगेन्द्र प्रधानलाई चित्तधर पुरस्कार, नियात्राकार डा. पुष्पराज राजकर्णिकारलाई ठाकुरलाल पुरस्कार, कथाकार लोचनतारा तुलाधरलाई मोतीलक्ष्मी पुरस्कार, प्रबन्ध लेखक मोतीलक्ष्मी शाक्यलाई पूर्णहीरा पुरस्कार र कथाकार अनिता तुलाधरलाई केशवलाल कथा पुरस्कार प्रदान गरियो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले स्रष्टाहरूलाई पुरस्कार हस्तान्तरण गरे ।

 

कला र शैली

खण्डहर आदिकविको जन्मघर

२०५ औं भानु जयन्ती
अब मंसिरदेखि भानुको जन्मघर पुनर्निर्माण गर्ने काम थाल्नेछौं । भानुको घर बनाउन सरकारको मुख ताक्नु पर्दैन । पुरानै शैलीमा भानुभक्तको घर बन्छ । यसमा ढुक्क भए हुन्छ ।
- प्रताप रानामगर
तनहुँको चुँदीरम्घास्थित आदिकविको खण्डहर बनेको घर (बायाँ) । तनहुँको भानु नगरपालिकामा भानु शिखर कटेरी गुरुयोजनाअन्तर्गत निर्माणाधीन रामायण भवन । तस्बिर : प्रताप

दमौली– आदिकवि भानुभक्त आचार्यलाई बर्सेनि असार २९ मा विशेष रूपले सम्झना गर्ने गरिन्छ । तनहुँको चुँदीरम्घास्थित उनको जन्मघर भने खण्डहर बन्दै गएको छ ।


आदिकविको जन्मस्थल संरक्षणका लागि यहाँ भानु शिखर कटेरी गुरुयोजना बनाएको पनि ६ वर्ष भइसक्यो । भानुभक्तका बारेमा अध्ययन गर्न चुँदीरम्घा पुग्नेले जंगलमा हराउन लागेको उनको घरको भग्नावशेष हेर्नुपर्छ । भानुभक्तको जन्मघर खण्डहर बन्दै जाँदा उनका पनाति पुस्ताका परिवार दु:खी छन् । गुरुयोजना बनेपछि भानु जन्मस्थलमा विकास हुने आस अहिले निराशामा बदलिएको भानुभक्तका पाँचौं पुस्ता केदारभक्त आचार्यले बताए । ‘विकास केही भएको छैन,’ उनले भने, ‘बत्तीमुनिको अँध्यारोजस्तै भएको छ ।’ भानुभक्तको जन्मस्थल कस्तो रहेछ भनेर देशविदेशबाट साहित्यमा रुचि दिनेहरू आउँछन् । ‘तर, यहाँ आएर हेर्दा केही देख्दैनन् । भताभुङ्ग र लथालिंग मात्र देख्छन्,’ उनले भने । विकास समिति गठन गरिए पनि राजनीति खिचातानीले भानुजन्मस्थल विकासमा प्रत्यक्ष असर परेको छ । सरकार परिवर्तन हुन साथ विकास समितिको पदाधिकारी पनि फेरिन्छन् । त्यसैले भानुको जन्मस्थल विकास हुन नसकेको उनले बताए ।


आदिकविको जन्मघर खण्डहर बन्दै जाँदा स्थानीय पनि दु:खी छन् । भानुभक्तको नाम नेपाली साहित्यमा प्रख्यात छ । नेपालभर मात्र नभई भारतका दार्जिलिङ र सिक्किममा पनि उनलाई सम्मान गरिएको छ । जन्मस्थलमै भने उनको सम्मान हुन सकेको छैन ।


चुँदीफाँटबाट भानु जन्मस्थलसम्म पुग्ने सडक समस्याका कारण जन्मघर पुनर्निर्माण गर्न ढिलाइ भएको पश्चिमाञ्चल विकास मञ्चले जनाएको छ । चुँदीफाँटदेखि माथि भानु जन्मस्थलसम्म ४ किमि सडकको ट्रयाक खोलिएको छ । तर, सडक ढुवानीका सामग्री ओसारपसार गर्न गाडी चलाउन सकिने अवस्थामा छैन ।


आदिकविको जन्मघर पुनर्निर्माण गर्नका लागि गुरुयोजना बनाएको भए पनि सडक नभएका कारण ढिला भएको मञ्चका संस्थापक अध्यक्ष रामकाजी कोनेले बताए । ‘कच्ची भए पनि सडक बनेको छ,’ उनले भने, ‘अब मंसिर महिनाबाट भानुको जन्मघर पुनर्निर्माण गर्ने काम थाल्नेछौं । भानुको घर बनाउन सरकारको मुख ताक्नु पर्दैन ।’ मञ्चमा आबद्ध व्यक्तिहरूबाट चन्दा संकलनबाटै निर्माण हुन सक्ने उनले बताए । घर पुनर्निर्माण सम्पन्न गर्न १ करोड ३ लाख रुपैयाँ बजेट लाग्ने इस्टिमेट छ । लगानीका लागि संस्थामा आवद्धहरूबाट सहयोग संकलन सुरु गरिएको छ । ‘पुरानै शैलीमा भानुभक्तको घर बन्छ । यसमा ढुक्क भए हुन्छ,’ अध्यक्ष कोनेले भने । साहित्यिक पर्यटकीय गन्तव्य रूपमा विकास गर्नका लागि आदिकविको पुरानै शैलीको घर बनाउने योजना तयार भएको उनले बताए ।


भानुजन्मस्थल विकास समिति र पश्चिमाञ्चल विकास मञ्चले भानु शिखर कटेरी गुरुयोजना बनाएका छन् । रामयण भवन र अतिथि गृह समितिले बनाउने योजना छ । यो सबै योजना १० वर्षमा पुरा गर्ने गरी तयार पारिएको थियो । योजना बनेकै ६ वर्ष भइसक्यो । गुरुयोजना अनुसार शिखर कटेरीको काम अघि बढेको छैन ।


गुरुयोजनाअनुसार रामायण भवन ७५ प्रतिशत तयार भएको छ । समितिका कार्यकारी निर्देशक शंकर रानाभाटका अनुसार भवन बनाउँदा २ करोड ७० लाख रुपैयाँ खर्च भइसकेको छ । आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘त्यो बजेटबाट रामायण भवन निर्माण सम्पन्न हुन्छ,’ उनले भने । भवनमा भानुभक्तका आठ कुण्डका शिलालेख, रामयाण श्लोक, रामायणसम्बन्धी तस्बिर र भानुभक्तले प्रयोग गरेका सामग्री राखिने उनले बताए ।


भानुभक्तलाई राष्ट्रिय रूपबाट नै ओझेलमा पारिएको भानु नगरपालिका प्रमुख उदयराज गौलीले बताए ।


‘राष्ट्रिय विभूतिको जन्मस्थललाई वर्षदिनमा एकपटक मात्र सम्झिने चलन भयो,’ उनले भने, ‘भानुभक्तको योगदानका बारेमा चर्चासमेत हुन छाड्यो ।’ भानुजन्मस्थल विकासका लागि संघीय सरकारले ठूलो लगानी नगरेको र महत्त्व पनि नदिएको उनको गुनासो छ । ‘स्थानीय सरकारले योजना बनाएको छ तर, ठूलो लागतको योजनामा संघ वा प्रदेश कसले सघाउने भन्ने प्रस्ट हुनुपर्छ,’ उनले भने, ‘हामीले गुरुयोजना बनाएका छौं । लागत सबै स्थानीय सरकारको सामथ्र्यको कुरा होइन ।’


१८७१ मा जन्मेका आदिकवि भानुभक्त धनञ्जय र धर्मवतीका जेठा छोरा थिए । बाल्यकालमै बाजे श्रीकृष्णको फेर समातेर बनारस पुगे । संस्कृतको गुणस्तरीय शिक्षाको मौका पाए । १९९० सालतिर रम्घा फर्केका उनको स्थानीय पण्डितकी छोरी चन्द्रकला खनालसँग विवाह भएको थियो । उनका छोरा रामनाथले भानुभक्तलाई रामायण सारेर सघाएका थिए ।

कला र शैली

‘नाइँ नभन्नू ल ५’ को ट्रेलर

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– भदौ ८ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नाइँ नभन्नू ल ५’ को सोमबार राजधानीको क्युज सिनेमा हलमा ट्रेलर सार्वजनिक गरिएको छ । ‘नाइँ नभन्नू ल’ देखि नै बालकलाकार अनुभव रेग्मी केन्द्रित यस सिरिजमा यसपटक पनि अनुभवले कोएक्टर सेड्रिना शर्मासँग जुगलबन्दी गरेका छन् । ट्रेलरमा पनि यिनै दुईले प्राथमिकता पाएका छन् । सेड्रिनाको यो डेब्यु फिल्म हुनेछ ।


‘नाइँ नभन्नू ल ५’ लाई प्राविधिक रूपले अब्बल बनाइएको निर्देशक विकास आचार्यले बताए । त्यसबाहेक समवेदनात्मक प्रेमकथा र उत्कृष्ट संगीतले यसपटक पनि निरन्तरता पाएको आचार्यले बताए । दोस्रो सिरिजदेखि नै निरन्तर अभिनयमा देखिएकी प्रियंका कार्कीले यसपटक पनि छोटो मीठो भूमिकामा देखिने बताइन् । उनले ‘नाइँ नभन्नू ल’ को सिरिज यात्रामा नछुट्ने हिसाबले भए पनि खेलेको बताइन् । ट्रेलर सार्वजनिक कार्यक्रममा कार्कीले भनिन्, ‘हरेक सिरिजसँगै हामी पनि ठूलो हुँदै आएका छौं । कथा र प्रस्तुतिमा पनि व्यापक भिन्नता छ ।’
‘नाइँ नभन्नू ल ५’ बाट अभिषेक नेपालले डेब्यु गर्दै छन् भने दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी, स्वस्तिमा खडका, जयनन्द लामा, बुद्धि तामाङलगायत कलाकार यस पटकदेखि सिरिजमा थपिएका छन् । पूर्वी जिल्ला इलाम र झापाको पृष्ठभूमिमा कथा बुनिएको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् भने निर्देशक आचार्यले सामीप्यराज तिमल्सेनासँग मिलेर पटकथा तयार पारेका हुन् ।

कला र शैली

बिलबोर्डमा ड्रेकको कीर्तिमान

- कान्तिपुर संवाददाता

क्यानेडियन गायक एवं र्‍यापक ड्रेक अहिले सर्वाधिक सफल संगीतकर्मी बनेका छन् । उनको पाँचौं एल्बम ‘स्कर्पियन’ ले कीर्तिमानी राखेको छ । बजारमा आएको एक साताभित्रै यो बिलबोर्ड हट हन्ड्ेरडको उत्कृष्ट १० मा पर्न सफल भएको छ । एल्बममा २५ वटा ट्रयाक छन् । यसलाई डबल साइजको एल्बम पनि भनिएको छ । यसमा हिप–हप, आर एन्ड बी र पप गीत समाविष्ट छन् ।


एल्बम रिलिजसँगै यसका चार गीत एकैचोटि काउन्ट डाउनको अग्रपंक्तिमा आएका छन् । यसअघि पनि उनका १३ वटा गीत रिलिज भएकै साता हट हन्ड्ेरडको टप टेन सूचीमा परेका थिए । अहिलेका चार गीत जोडा उनका कुल १६ वटा गीत रिलिज हुनासाथ टप टेनमा पर्न सफल भएका छन् । यस मानेमा ड्ेरकले गायिका टेलर स्विफ्टको रेकर्ड पनि तोडेका छन् । ट्रेलरका १४ वटा गीत रिलिज भएको साता दिनमा टप टेन परेका थिए ।


अनलाइन स्ट्रिमिङमा पनि ड्ेरकको एल्बमले लोभलाग्दो सफलता पाएको छ । एप्पल म्युजिकको ‘सिंगल डे स्ट्रिमिङ रेकर्ड’ मा उनको एल्बम एक सातामा एक खर्ब पटक स्ट्रिम भएको छ (सुनिएको छ) । यसका ‘नाइस फर ह्वाट...’, ‘इमोसनलेस...’, ‘गड्स प्लान...’, ‘कान्ट टेक अ जोक...’ जस्ता गीत सर्वाधिक रुचाइएका छन् । एल्बमको सफलतासँगै ड्रेकको व्यक्तिगत जीवनबारे चर्चा हुन थालेको छ । फ्रेन्च युवती सोफी जो कुनै बेला पोर्न अभिनेत्री थिइन्, सँगको ड्रेकको अफेयरबारे बाक्लै गसिप हुन थालेको छ । यिनको एक छोरा भएको बताइन्छ । गायकले आफ्नो ‘मार्च १४...’ बोलको गीतमा छोराबारे गाएका पनि छन् । र्‍यापर पुसा टीले पनि ‘द स्टोरी अफ एडिडन...’ मा ड्ेरकलाई छोरा र गर्लफ्रेन्ड स्विकार्न आग्रह गरेपछि दुईबीच विवाद पनि भएको थियो ।

Page 20
कला र शैली

‘अठोट’ साथ श्रीश

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कुनै पनि व्यक्ति जीवनमा कति सफल वा असफल हुन्छ भन्ने तथ्य ऊ बाल्यावस्था र किशोरावस्थामा कसरी हुर्किएको छ, त्यसमा निर्भर गर्छ भन्ने मानिन्छ । अचेलका बालबालिका कस्ता छन् त ? प्रायजसो आफूले भनेजस्तो नभए चिढिइहाल्छन्, जंकफुड भनेपछि मरिहत्ते गर्छन्, पढाइलेखाइमा अपेक्षित ध्यान केन्द्रित गर्न सक्दैनन्, घरपरिवार र साथीभाइसँग भन्दा पनि स्मार्टफोन, भिडियो गेम, युटयुब र सोसल मिडियामा ज्यादा अलमलिन थालेका छन् । सन्तानको उज्ज्वल भविष्य चाहने अभिभावक यी विषयमा गम्भीर हुन जरुरी मानिन्छ ।


स्कुले बालबालिकालाई यिनै यथार्थ सम्झाउने प्रयासस्वरूप पत्रकार श्रीश भण्डारी पुस्तकाकार कृतिसहित आएका छन् । कान्तिपुर दैनिकका सहायक सम्पादक भण्डारीको ‘अठोट’ दी इटर्नल पब्लिकेसनले निकालेको हो । ‘अठोट’ पढेर कलिलो उमेरमै आफूलाई कसरी सही बाटोमा अग्रसर गराउने भन्ने निक्र्योल गर्न सक्ने उल्लेख गर्दै पब्लिकेसनले विज्ञप्तिमा भनेको छ, ‘खास गरी माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीले पढ्नैपर्ने यो पुस्तक शिक्षक, अभिभावक र सकारात्मक सोच राख्न चाहनेहरूका लागि उत्तिकै उपयोगी छ । पुस्तकको अभिप्राय नै विद्यार्थीले हासिल गर्ने नतिजा ग्रेड र प्रतिशतमा मात्र हैन, वास्तविक जीवनका यथार्थमै झल्किनुपर्छ भन्ने हो ।’


पब्लिकेसन अनुसार, रोचक कथाहरू र विश्वका महान् व्यक्तिहरूका उद्धरण समेटिएको ‘अठोट’ निबन्धात्मक शैलीमा छ । यसमा कामको प्राथमिकता कसरी तोक्ने, स्मरणशक्ति कसरी बढाउने, जंकफुडको बानी कसरी छुटाउने, आत्मविश्वास कसरी जगाउने भन्ने विषयहरू रोचक शैलीमा पढ्न पाइन्छ । पुस्तकमा सिकाइ शैली, परीक्षाको तयारी, कुलतबाट जोगिने तरिका, साथी छान्ने विधि, डर भगाउने र पढाइमा रुचि जगाउने उपायहरू पनि छन् ।


‘तपाईंहरूले यो किताबलाई सरसर्ती मात्र पढ्नुभयो भने भुल्न सक्नुहुनेछ,’ कान्तिपुरमा डेस्क एडिटर र बाल परिशिष्टांक ‘कोपिला’ को संयोजक रहेका भण्डारीले भनेका छन्, ‘राम्ररी पढ्नुभयो भने पछिसम्मै याद रहनेछ । हृदयले महसुस गर्नुभयो भने मात्र आफ्नो जीवनमा उतार्न सक्नुहुनेछ ।’

कला र शैली

खर्बपति काइली

- कान्तिपुर संवाददाता

अमेरिकी टेलिभिजन स्टार काइली जेनर खर्बपतिहरूको सूचीमा परेकी छन् । उनी अहिलेसम्मकी कान्छी खर्बपति हुन् जो आफ्नै बलबुतामा यत्तिका सम्पत्तिको मालिक बनेकी छन् । बीस वर्षे जेनरले तीन वर्षको अन्तरालमा ९ सय मिलियन डलर कमाएसँगै उनलाई खर्बपति भन्न थालिएको छ ।


किम, ख्लोई र कटर्नी कादर्सियनहरूकी सौतेनी बहिनीसमेत रहेकी काइली टीभी प्रस्तोता त हुन् नै । उनले यत्तिका सम्पत्ति भने आफ्नो कस्मेटिक कम्पनीमार्फत कमाएकी हुन् । फोब्र्स म्यागाजिनका अनुसार उनले सन् २०१६ यता ६ सय ३० मिलियन डलरको मेकअप सामग्री बेचिसकेकी छन् । सुरुमा २९ डलर पर्ने लिपिस्टिक सेट लन्च गरेकी उनी यति चाँडै अर्बौंको व्यापार गर्न सफल भएकी हुन् ।


कम्पनीको सम्पूर्ण मुनाफा काइली एक्लैले भोग गर्न पाउँछिन् । यसमा उनले कसैसँग साझेदारी गरेकी छैनन् । कम्पनीबाट आठ सय मिलियन हासिल गरेकी उनी टीभी कार्यक्रम र विज्ञापनबाट पनि लोभलाग्दो आम्दानी गर्छिन् । आर्थिक समाचारमा अग्रणी फोब्र्स म्यागाजिनका अनुसार काइलीले कर काटिवरी ९ सय मिलियन डलर चोखो हात पार्छिन् ।
अब चाँडै खर्बपति बन्ने भएपछि उनलाई अहिले नै ‘योङगेस्ट सेल्फ–मेड बिलिनियर’ भन्न थालिएको छ । यो उमेरमा न पुरुष न महिला कसैले पनि हालसम्म यत्तिका सम्पत्ति जोडेको इतिहास छैन । उनकी दिदी किमले पनि कस्मेटिक्स, क्लोथिङ, मोबाइल गेम लाइन्सका ब्रान्ड स्थापना गरेकी छन् । किम भने ३५० मिलियन डलरकी मालिक हुन् ।


फोब्र्सले उनलाई खर्बपति भनेयता काइलीले सामाजिक सञ्जाललाई आफ्नो सफलताको जस दिएकी छन् । ‘यो गजबको प्लेटफर्म हो,’ उनले भनेकी छन्, ‘मेरा फयान र ग्राहकसँग सजिलै पहुँच निर्माण गरिदिएको छ ।’ उनले म्यागाजिनमा आफूबारे छापिएकोमा आभार प्रकट गर्दै आफूले मन पराएको काम गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

कला र शैली

पानी पर्ला बाटैमा...

- कान्तिपुर संवाददाता
 यति बेला झरीको मौसम छ । बाटामा हिँड्नका लागि छाता नभई नहुने सामग्री हो । छाता ओढेर झरीमा हिँडदा रोमाञ्चक अनुभूति हुन्छ ।
-वर्षा शिवाकोटी, अभिनेत्री

 

काठमाडौं– गायिका मिलन नेवार एक महिनाअघि जापानको चिल्लो सडकमा हिँडदै गर्दा अचानक पानी पर्‍यो । साथमा छाता नहुँदा भिज्नुको विकल्प थिएन । गायक नवीन के भट्टराईको ‘ए झरी नझरिदेऊ यसरी...’ गीत गुनगुनाउँदै भिज्दै हिँडिरहेकी गायिकालाई एक भाइले तुरुन्तै छाता ल्याएर दिए ।


‘जापानमा छाता किन्नै नपर्ने रहेछ,’ मिलनले भनिन्, ‘पानी परेपछि नजिकैको पसलबाट छाता उठायो, ओढयो अनि जहाँ पानी रोकिन्छ, त्यहीँ पसलछेउ छोडेर हिँडे हँुदो रहेछ ।’
छातासम्बन्धी यस्तो रोचक चलन मिलनले पहिलो पटक थाहा पाइन् । घामपानी छल्न हाम्रा पुर्खाले स्याखु, छत्री बनाए । अचेल छाताको प्रयोग बढ्दो छ । खासगरी कलाकारहरू आफूलाई घामपानीबाट सुरक्षित राख्न छाताको प्रयोग गर्न रुचाउँछन् ।

सनस्क्रिन लगाए पनि छाता जस्तो भरपर्दो अरू केही लाग्दैन । घामबाट सुरक्षित बनाउन छाता नै प्रभावकारी हुन्छ ।
-निकिता चान्दक, पूर्व मिस नेपाल

 


पूर्वमिस नेपाल निकिता चान्दकलाई अरू बेला छाता ओढ्न खासै खाँचो लाग्दैन रे । तर उनी यति बेला फिल्म ‘रानी महल’ को सुटिङका लागि पाल्पाकै रानी महलमा छिन् । त्यहाँको चर्को घाम र पानीको सामना गर्नुपर्दा भने उनलाई छाताको महत्त्वबोध भएछ ।


‘एक छिनमा घाम लाग्छ अनि एक छिनमा पानी पर्छ । घाम र पानीको टुंगै नहुने,’ उनले भनिन्, ‘घाम वा पानी दुवै छेक्न छाता नभई नहुने रहेछ ।’


सुटिङका बेला उनले एक क्षण पनि छाता छुटाइनछन् । घामले छालामा प्रत्यक्ष असर गर्ने हँुदा त्यसको बचाउका लागि पनि छाता सबैभन्दा उपयोगी र सजिलो सामग्री रहेको उनले सुनाइन् । आउटडोर जाँदा छाता अनिवार्य राख्नुपर्ने उनको धारणा छ ।

जापानमा छाता किन्नै नपर्ने रहेछ । पानी परे नजिकैको पसलबाट छाता उठायो, ओढयो अनि जहाँ पानी रोकिन्छ, त्यहीँ पसलछेउ छोडिदियो ।

-मिलन नेवार, गायिका

 


‘सनस्क्रिन लगाए पनि छाता जस्तो भरपर्दो अरू केही लाग्दैन,’ उनले भनिन्, ‘घामबाट सुरक्षित बनाउन छाता नै प्रभावकारी हुन्छ ।’


अभिनेत्री वर्षा शिवाकोटी घामको किरणबाट अनुहार बिग्रेला भन्नेमा बढी नै संवेदनशील छिन् । यत्तिकै हिँड्नुभन्दा छाता नभए मफलरले भए पनि अनुहार सुरक्षित राख्नुपर्ने उनको सल्लाह छ । ‘यति बेला झरीको मौसम छ । बाटामा हिँड्नका लागि छाता नभई नहुने सामग्री हो,’ वर्षाले भनिन्, ‘छाता ओढेर झरीमा हिँड्दा रोमाञ्चक अनुभूति हुन्छ ।’ उनलाई छाता र झरीको सम्बन्ध र मिठास यसैमा भएको जस्तो लाग्छ ।

Page 21
हेल्लो शुक्रवार

‘थर्ड ह्वील’

बाटोमा बिग्रिएको मोटरसाइकल जहाँको तहीँ बनाउन आउने, आफ्नो घर वा कार्यालयमै मोटरसाइकल सर्भिसिङका लागि लिन आउने भए कति जाती हुन्थ्यो ? उपत्यकामा मोटरसाइकल धनीको यो साझा इच्छा पूरा गर्ने उद्देश्य राख्छ– थर्ड ह्वील ।
‘घर नजिकै सर्भिसिङ सेन्टर नहुँदा, सर्भिसिङ गराउन जाँदा पालो कुर्नुपर्दा र जहाँ पायो त्यहीँ सर्भिसिङ गराउँदा धेरैले दु:ख पाएको अनुभव गर्‍यौं र यो समस्या समाधान गर्ने प्रडक्ट बनाउँदा चल्छ भनेर सुरू गरेका हौं ।’
- विमल खतिवडा

काठमाडौं उपत्यकामा दैनिक करिब १० लाख मोटरसाइकल गुड्छन्, हरेक दिन तीमध्ये केही गन्तव्य नपुगी बिग्रिन्छन् । मोटरसाइकल चलाउनेले हरेकले कुनै न कुनै दिन यस्तो समस्या भोगेकै हुन्छन् । मोटरसाइकल सर्भिसिङमा दिनु अर्को झन्झटिलो काम हो । त्यसैले अत्यावश्यक नभई कमै मात्र मोटरसाइकल धनीले सर्भिसिङमा लैजान्छन् । बाटोमा बिग्रिँदा डोर्‍याउनु, सर्भिसिङमा घण्टौं पालो पर्खनु मोटरसाइकल धनीका साझा समस्या हुन् ।


बाटोमा बिग्रिएको मोटरसाइकल जहाँको तहीँ बनाउन आउने ? आफ्नो घर वा कार्यालयमै मोटरसाइकल सर्भिसिङका लागि लिन आउने भए कति जाती हुन्थ्यो ? उपत्यकामा मोटरसाइकल धनीको यो साझा इच्छा पूरा गर्ने उद्देश्य राख्छ– थर्ड ह्वील ।


सर्लाहीका ३५ वर्षीय अरुणकुमार राउत पढाइले इन्जिनियर हुन् । नेपाल इन्जिनियरिङ कलेजबाट बीई गरेका उनले भारतको चेन्नईस्थित भीईएलएस कलेजबाट एमटेक गरेका छन् । केही अघिसम्म सफ्टवेयर बनाउन किबोर्ड चलाउने उनका औंलाहरू अहिले मोटरसाइकल बिग्रिएको र सर्भिसिङ सेवा माग्ने ग्राहकको सेवामा तल्लीन छ ।


महिनौंको अनुसन्धानपछि उनले सुरु गरेको कम्पनी थर्ड ह्वीलले अहिले एप, वेबसाइट र फोन कलमार्फत आएको अनुरोधअनुसार मोटरसाइकल सर्भिसिङ, बिग्रिएको स्थानमा मर्मतको सेवा दिन्छ । अहिले यो काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै उनीहरूको सेवा उपलब्ध छ । प्रयोगकर्ताले आईओएस र एन्ड्रोएड डिभाइसमा उपलब्ध ‘थर्ड ह्वील’ एप, कम्पनीको वेबसाइट वा फोनमार्फत यो सेवा लिन सक्छन् । अहिले दैनिक थोरै मात्र अनुरोध आउने राउत बताउँछन् ।


थर्ड ह्वीलको अहिले आफ्नै सर्भिसिङ सेन्टर भने छैन । बरु उनीहरूले उपत्यकाका चार वटा सर्भिसिङ सेन्टरसँग सम्झौता गरेका छन् र आफूकहाँ आउने मोटरसाइकललाई त्यहाँ लगेर सर्भिसिङ गराउँछन् । प्रयोगकर्ताले बाटोमा बिग्रिएको मोटरसाइकल बनाउन बोलाउँदा सय रुपैयाँ शुल्क लााग्ने र सर्भिसिङका लागि बोलाउँदा पनि उत्तिकै शुल्क लाग्ने राउत बताउँछन् । राउत र बन्दना चौधरी मिलेर स्थापना गरेको कम्पनीमा अहिले १० जना कार्यरत छन् । यीमध्ये ३ जना बाइक बिग्रिएको ठाउँमा मर्मतका लागि पुग्न तयारी अवस्थामा हुन्छन् । यो सेवा बिहान ७ देखि बेलुका ७ बजेसम्म उपलब्ध हुन्छ ।


‘नयाँ काम गर्ने मन थियो । त्यसैले धेरै मानिसले भोगेको समस्या खोज्न थाल्यौं,’ कम्पनी स्थापनाको अनुभवबारे राउतले सुनाए, ‘बाइक बिग्रिने र सर्भिसिङ गर्न जाँदा हुने समय खर्चले धेरैलाई पिरोलेको थाहा पायौं ।’ ‘घर नजिकै सर्भिसिङ सेन्टर नहुँदा, सर्भिसिङ गराउन जाँदा पालो कुर्नुपर्दा र जहाँ पायो त्यहीँ सर्भिसिङ गराउँदा धेरैले दु:ख पाएको अनुभव गर्‍यौं,’ उनी भन्छन्, ‘यो समस्या समाधान गर्ने प्रडक्ट बनाउँदा चल्छ भनेर सुरु गरेका हौं ।’


धेरै मानिसको समस्या समाधान हुने खालका प्रडक्ट बनाउँदा कम्पनी चल्ने मात्रै नभई धेरै मानिसको दैनिकी सहज हुने उनको तर्क छ । यसैलाई आधार मानेर नयाँ आइडियासहित कम्पनी खोलेको राउत बताउँछन् । भन्छन्, ‘चुनौतीपूर्ण काम गर्दा मज्जा आउँछ, अरू काम एकोहोरो हुन्छ ।’


कम्पनी सुरु गर्नुअघि अनलाइनमार्फत बाइक बुकिङ सर्भिसको संयन्त्रबारे अनुसन्धान गरेको उनी बताउँछन् । ‘मार्केट रिसर्च, कम्पनीको प्राविधिक पक्ष मिलाउन धेरै समय लाग्यो,’ उनी भन्छन्, ‘अब भने कम्पनीको काम बढाउन बाँकी छ ।’


प्रयोगकर्ताले बुकिङका लागि प्रयोग गर्ने एप अझ बढी प्रयोगकर्ता मत्री बनाउँदै लैजाने उनी बताउँछन् । एन्ड्रोइड र आईओएस गरी एप एक हजारभन्दा बढी पटक डाउनलोड भएको छ । एपमार्फत प्रयोगकर्ताले आफ्नो मोटरसाइकलको कम्पनी, क्षमताजस्ता विवरण खुलाएर सेवाको बुकिङ गर्न सक्छन् । वेबसाइटमा पनि यही प्रक्रिया छ ।


प्रयोगकर्ताको संख्या बढ्दै गएपछि आफ्नै सर्भिसिङ खोल्ने योजना रहेको उनले सुनाए । ‘अहिले उपत्यकाका चार वटा सर्भिसिङ सेन्टरमा लगेर मोटरसाइकल बनाउँछौं,’ उनी भन्छन्, ‘विस्तारै आफ्नै सर्भिसिङ खोल्ने योजना छ ।’ उनी कम्पनीको अहिलेको अवस्थालाई परीक्षण काल मान्छन् । ‘भर्खरै प्रचारको चरणमा छौं,’ उनी भन्छन्, ‘फुल फ्लेजमा जान समय लाग्छ ।’


धेरैलाई जानकारी दिन अहिले सोसल मिडियामार्फत प्रचार तीव्र पारिएको उनले बताए । ‘प्रयोगकर्तालाई सुरुमा बानी पार्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसपछि विश्वास जगाउनुपर्छ ।’
कम्पनी स्थापनाका लागि ३० लाख लगानी लागेको उनी बताउँछन् । ‘सोचअनुसार ग्राहक बढ्दै गए भने अबको ६ महिनाभित्र नाफामा जान्छौं,’ उनी भन्छन् ।


थर्ड ह्वील एउटा उदाहरण मात्र हो । पछिल्लो समय काठमाडौं उपत्यकामा मानिसको दैनिकीलाई सहज बनाउने खालका व्यवसायको सूची लम्बिँदो छ । मोटरसाइकलमार्फत गन्तव्यमा चाँडै पुर्‍याउन सघाउने टुटल, फोनको भरमा ट्याक्सी बोलाउन पाइने सारथि यसका उदाहरण हुन् । साथै, घरघरमा सामान डेलिभरी गरिदिने इकर्स व्यवसायले पनि समय खर्चिने समस्याबाट मुक्ति दिन थालेका छन् ।

[email protected]

Page 22
हेल्लो शुक्रवार

ढोकामै कवाडी

नयाँ प्रविधिको प्रयोग गरेर ‘खाली सीसी’ भन्दै गल्ली–गल्ली कराउँदै हिँड्ने संकलकको कामलाई पनि उनीहरुले सहज बनाइदिएका छन् ।
- हेलो शुक्रबार

धेरैलाई थाहै होला, काठमाडौं उपत्यकाबाट मात्रै दैनिक १००० टनभन्दा बढी फोहर जम्मा हुन्छ ।
त्यसलाई वैज्ञानिक रुपले विसर्जन गर्न जहिले पनि हम्मेहम्मे परिरहेको छ ।
कवाडी बेच्नेलाई पनि सजिलो, संकलकहरुलाई पनि सजिलो र कवाडीवालाहरुलाई पनि सजिलो होस् भनेर बनाइएको एप हो, ‘कवाडी एट् योर डोरस्टेप’ ।


खाली सीसी, पुराना कागज, फलामको टुक्रा !’
काठमाडौंवासीलाई यो शब्द पक्कै पनि नौलो लाग्दैन । एकाबिहानै आफू आँखा मिच्दै बाहिर बार्दलीमा निस्कँदा, पुरानो साइकलको क्यारिअरमा जुटको बोरा झुन्ड्याएका व्यक्तिले हिन्दी मिसिएको लवजमा ‘ओ, दाइ खाली सीसी छ ?’ भनेको हामीलाई नौलो लाग्दैन ।
तर, यदि कसैले तपाईंलाई मोबाइलमा एउटा एप हालेको भरमा आफूले भनेको समयमा कवाडी सामान लिन घरमै मान्छे आइपुग्छन् भन्दा भने नौलो लाग्न सक्छ । ‘ब्लु वेस्ट टु भ्याल्यु’ नामक संस्थाको भगिनी संस्था ‘ब्लु टेक्नोलोजी’ ले उपत्यकाको गल्लीमा डुल्ने कवाडी संकलक र कवाडीवालाहरूको कामलाई व्यवस्थितका साथसाथै र मर्यादित पनि बनाउने उद्देश्यले ‘कवाडी एट योर डोरस्टेप’ भन्ने एप बनाएको छ ।


यो एपको मुख्य उद्देश्य भनेकै तपाईं हामी नजिक रहेका कवाडीवालाहरूको सूचना हामीलाई दिनु र हामीले चाहेका बेला कवाडी सामग्रीहरू उचित दाममा बेच्न सहजीकरण गर्नु हो ।
बिहानै सहरका गल्ली–गल्ली डुलेर पुन: प्रयोग गर्न सकिने फोहरहरू संकलन गरेर आफ्नो जीविका चलाउनेहरू आफ्ना लागि जीविकोपार्जन गर्नुका साथसाथै फोहर व्यवस्थापनमा थोरै भए पनि योगदान दिएका छन् । तर उनीहरूको काम सजिलो भने छैन । कहिले त उनीहरू चोरीको दोषमा कुटिन्छन् त कहिले घर टोलमा हुने कुकुरहरूबाट लखेटिन्छन् र टोकिन्छन् पनि । यस्तैमा कवाडी बेच्नेलाई पनि सजिलो, संकलकहरूलाई पनि सजिलो र कवाडीवालाहरूलाई पनि सजिलो होस् भनेर बनाइएको एप हो– ‘कवाडी एट् योर डोरस्टेप’ ।


धेरैलाई थाहै होला काठमाडौं उपत्यकाबाट मात्रै दैनिक १००० टनभन्दा बढी फोहर जम्मा हुन्छ । त्यसलाई वैज्ञानिक रूपले विसर्जन गर्न जहिले पनि हम्मेहम्मे परिरहेको छ । तर यसरी महानगरहरूबाट उत्पादन हुने फोहरमध्ये अधिकांश फोहर पुन: प्रयोग गर्न मिल्ने खालका हुन्छन् । त्यसलाई व्यवस्थित रूपमा छुट्याएर राख्न सके त्यसबाट आम्दानी नै गर्न सकिन्छ भन्ने सोचलाई बढावा दिन यो एपले भूमिका खेल्ने बताउँछन् ‘ब्लु टेक्नोलोजी’ का प्रोजेक्ट म्यानेजर सुरज जैसवाल ।


हाल ललितपुर महानगरपालिकासँग औपचारिक सहकार्य गरेर काम भइरहेको उक्त एपमा कवाडी संकलक तथा कवाडीवालाहरू दर्ता भएपछि मात्रै उनीहरूले एपबाट ग्राहक प्राप्त गर्न सक्छन् । जैसवालका अनुसार एपमा दर्ता हुनका लागि संकलकहरूले तोकिएको पोसाक लगाएर मात्रै कवाडी संकलनमा जानुपर्ने हुन्छ ।


यस्तै उनीहरूले आफ्नो कवाडी सामान जोख्नका लागि डिजिटल तराजु र फोहर छुनका लागि पञ्जा पनि प्रयोग गर्नुपर्ने हुन्छ । यस्तै कवाडीवालाहरूले भने संकलकहरूले लिएर आएको सामानको उचित रकम दिने र त्यस्ता सामानहरूको पुन: प्रयोग गर्नुपर्ने हुन्छ । उनीहरूले संकलकबाट किनेको सामग्रीलाई फोहरका रूपमा डम्पिङ साइटमा पठाउन हुँदैन ।
प्रोजेक्ट म्यानेजर जैसवालका अनुसार अहिलेलाई औपचारिक रूपमा १४ जना जति कवाडीवालाहरू एपसँग जोडिएका छन् भने २२ जना संकलकहरू पनि आबद्ध छन् । ‘हामी कवाडीवालाहरू र संकलकहरूको संख्यालाई क्रमश: बढाउँदै लैजान्छौं,’ उनले भने, ‘सबैलाई एकैपटक दर्ता गरेर भद्रगोल गर्नुभन्दा समय लिएर ट्रेन गर्दै अगाडि बढ्ने सोच हाम्रो छ ।’
सानेपास्थित एक कवाडीवाला चुनचुन साहका अनुसार एपको प्रयोगबाट संकलित हुने सामग्रीको वर्गीकरण तथा व्यवस्थापन गर्न सहज हुन्छ । ‘त्यसबाट आउने कवाडीमा फोहर थोरै हुन्छ । कसले कहाँबाट कति उठायो भन्ने पनि थाहा हुन्छ,’ उनले भने, ‘फोहर थोरै भएपछि त्यसै फाइदा हुन्छ । चोरी चकारीको आरोप लाग्ने पनि डर भएन । त्यसैले म यसमा जोडिएको हुँ ।’


‘ब्लु वेस्ट टु भ्याल्यु’ का प्रमुख कार्यकारी नवीन महर्जनका अनुसार कम्पनीले हाललाई उपत्यकाबाट उत्पादन हुने फोहर सकेसम्म थोरै मात्रामा मात्रै ल्यान्डफिल्ड साइटमा जाओस् भन्ने सोच राखेको छ । त्यही सोचलाई साथ दिन नै आफ्नो भगिनी संस्था ब्लु टेक्नोलोजीमार्फत कवाडी एट योर डोरस्टेप भन्ने एप निर्माण गरिएको हो ।


‘ब्लु वेस्ट टु भ्याल्यु’ ले अहिले विभिन्न संस्थाका साथै समुदायको फोहर व्यवस्थापनको काम गरिरहेको छ । कम्पनीले ठूला पाँचतारे होटलमा याक एन्ड यती र हयात रेजेन्सीको फोहर व्यवस्थापनको काम गरिरहेको छ भने समुदायमा कीर्तिपुरको पाँगा र साँखुमा काम गरिरहेको छ ।


‘हामी संकलन गरेको फोहरलाई आफैं प्रशोधन गर्छौं र सकेसम्म सबै फोहरलाई पुन: प्रयोग गर्ने कोसिस हाम्रो रहन्छ,’ सीईओ महर्जनले भने, ‘फोहर संकलन गरेर यसो हेरेर ल्यान्डफिल्डमा लगेर फाल्ने काम हामीबाट हुँदैन ।’ यस्तै कम्पनीले नेपालमा पर्यटकहरूको सबैभन्दा ठूलो आकर्षणको केन्द्र सगरमाथा आधार शिविरको खुम्बु क्षेत्रको फोहरको व्यवस्थापन गर्नका लागि पनि काम गरिरहेको छ ।


केही समययता फोहरमा स्वरोजगार, अवसर र पैसा देख्ने जमात बढेको छ । त्यसैको प्रतिफल हो ‘खाली सीसी’ र ‘डोको रिसाइकलर’ जस्ता कम्पनी थालेका छन् । त्यसैले अहिले काठमाडौंमा सजिलोसँग आफूले चाहेका बेला घरमै गएर यस्ता सामग्रीहरू उचित दाम दिएर उठाउने समूहहरू खडा भएका छन् । नयाँ प्रविधिको प्रयोग गरेर ‘खाली सीसी’ भन्दै गल्लीगल्ली कराउँदै हिँड्ने संकलकहरूको कामलाई पनि उनीहरूले सहज बनाइदिएका छन् ।

[email protected]

हेल्लो शुक्रवार

कीर्तिमानी ड्रेक

- कान्तिपुर संवाददाता

अहिले फुटबलको विश्वकप चलिरहेको स्थितिमा मनोरञ्जनको क्षेत्रबाट ठूलो समाचार के हुन सक्छ र ? हुन सक्छ, यी हुन्, क्यानाडेली हिपहप स्टार ड्रेक र उनको नयाँ एल्बम ‘स्कोरपियन’ । उनको यो पाँचौं एल्बम हो र यसले अहिले विश्व संगीतमा धुम मच्चाइरहेको छ, त्यो पनि रिलिजको एक साताभित्रै । यूएस चार्ट्समा त यसले तहल्का नै मच्चाएको छ भन्दा हुन्छ ।


स्पोटीफाई र एप्पल म्युजिकमा मात्र गरेर यो एल्बमको स्ट्रिमिङ ७४ करोडभन्दा बढी पुगिसकेको छ । पश्चिमेली संगीतमा यस्तो अहिलेसम्म कहिल्यै भएको थिएन । अचेल गीत सुन्ने सुनाउने चलन नयाँ छ, पहिले जस्तो एल्बमका कति प्रति बिक्री भयो भनेर हिसाब गरिन्न । तर अहिलेसम्म जति पनि स्ट्रिमिङ भएको त्यसलाई आधार मान्ने हो भने यो एक साता सात लाख एल्बम विक्री बराबर हो ।


जुन २९ त हो, यो एल्बम रिलिज भएको । खासमा यसलाई डबल एल्बम भने पनि हुन्छ, डबल एल्बम हो नै, किनभने दुई भाग छन् । अनि यसमा गीतको संख्या छ, २५ । साइड ‘ए’ का गीत हिपहप छन् । अनि साइड ‘बी’ का आरएन्डबी तथा पप । त्यसो त स्ट्रिमिङको कीर्तिमान पछिल्लो समय नियमित रूपमा बढ्ने गरेको छ । यसको कारण अनलाइनबाट अन–डिमान्ड संगीत सुन्ने चलन रहेर पनि हो ।


एल्बमको बजार व्यवस्थापक नेल्सन सर्भिसले फ्रि–प्लेटफर्म यु–ट्युबको स्थानमा अन–डिमान्डतर्फ आफ्नो नीति बनाएको हुनाले पनि ड्रेक र स्कोरपियन यति धेरै सफल भएको हो । त्यसकै नतिजा त हो, एल्बम अहिले बिलबोर्ड २०० को शीर्ष स्थानमा छ र टप–टेन गीतमा मात्र उनका पाँच गीत परेका छन् । ड्रेक अहिले नयाँ एल्बमबाट मात्र चम्केका पनि होइनन्, उनका पुराना गीत पनि उत्तिकै सफल छन् ।


त्यसैले चार्ट्समा परेका उनका गीतको संख्या मात्र ३१ पुगेको छ र यसक्रममा उनले माइकल ज्याक्सनलाई समेत उछिनेका छन् । यति मात्र होइन, उनले एउटै एल्बमका धेरै गीत चाटर््समा परेको तथ्यमा बिटल्सलाई पनि उछिनेका छन् । तय छ, अबका दिनमा उनका कीर्तिमानबारे अझ सुन्न पाइनेछ । अनि यससँगै यो तथ्य पनि सिद्ध भएको छ, अब साँच्चै हिपहप म्युजिक पनि कम रहेन, यो त नयाँ पुस्ता र प्रविधि सुहाउँदो पो छ ।
–हेलो डेक्स

Page 23
हेल्लो शुक्रवार

विश्वकप २०१८: पालो एनरिकेको

- कान्तिपुर संवाददाता

यसपल्ट स्पेनले विश्वकपमा लामो यात्रा तय गर्न नसक्नु पछाडि धेरै कारण हुन सक्छन् । त्यसमध्ये एक प्रमुख कारण हो, प्रतियोगिताको ठीक अगाडि प्रशिक्षक जुलेन लोपेटेगुईको बर्खास्ती । हुन पनि उनले राम्रो काम गरेकै थिएनन्, स्पेनी एफएलाई नै थाहा नदिएर रियल म्याड्रिडसँग अनुबन्ध गरेका थिए । यस्तोमा रुसमा स्पेनले फर्नान्डो हिएरोको नेतृत्वमा खेलेको थियो । हिएरोले पनि स्पेनी टिमका लागि रातारात के नै गर्न सक्थे र ? स्पेन अन्तिम १६ मै रोकियो । अब भने स्पेनी टिम सम्हाल्ने जिम्मेवारी पाएका छन्, बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस एनरिकेले । उनको आगमनले स्पेनी टिममा बार्सिलोनाले खेल्ने पारा फेरि देखिनेछ ।

 

हेल्लो शुक्रवार

विश्वकप २०१८: हाँसोका पात्र म्याराडोना

- कान्तिपुर संवाददाता

मैदानमा डिएगो म्याराडोना जति राम्रा खेलाडी थिए, मैदान बाहिर उनको व्यक्तित्व उत्तिकै खराब रहने गरेको छ । अहिलेको विश्वकपमा पनि उनको व्यवहारलाई कसैले रुचाएनन् । कोलम्बियामाथि इंग्ल्यान्डले जित निकालेयता उनले भनिहाले, इंग्ल्यान्डले जित्नका लागि डाका डाले । अनि त्यस खेलमा रेफ्री रहेकालाई सक्दो गाली पनि गरे । सबैले आलोचना गरेपछि म्याराडोनाले फेरि माफी भने मागे । उनको कामै यस्तो हुने गर्छ । त्यसैले पनि उनीबारे इंग्ल्यान्डका पूर्वखेलाडी एलान सिएररले ठीकै भनेका छन्, म्याराडोना अचेल हाँसोका पात्र हुन थालेका छन् । उनको काम हेरेर आजभोलि अरूलाई हाँसो उठ्छ ।

 

हेल्लो शुक्रवार

विश्वकप २०१८: फुटबलले रुसलाई दिएको खुसी

- कान्तिपुर संवाददाता

रुसलाई यसपल्टको विश्वकपमा कहीं न कहीं रोकिनु थियो, त्यो बाटो क्वाटरफाइनल रह्यो । क्रोएसियासँग टाइब्रेकरमा पराजित हुँदै रुस प्रतियोगिताबाट बाहिरियो । तर एउटा तथ्य के सबैले मानेका छन् भने रुसी टिमले जुन यात्रा तय गरेको छ, त्यसले पूरा रुसलाई धेरै खुसी दिएको छ । कमैले अपेक्षा गरेका थिए, आयोजक टिमले यति राम्रो खेल्नेछ र यति लामो दूरी तय गर्नेछ भनेर । हुन पनि फिफा वरीयताको सबैभन्दा पुछारमा रहेको टिमबाट धेरै अपेक्षा पनि के राख्ने र ? रुसले यसपल्ट जति पनि खेल खेल्यो, त्यसका पछाडि रुसी जनता पागलभैंm लागे । जितसँगै रुसमा फुटबलको गज्जब माहोल देखिएको थियो । यस्तोमा भन्न करै लाग्छ, भलै रुसले विश्वकप जित्न सकेन, तर उसले सबैको मन भने जित्न सफल रह्यो । यो अर्थमा रुस साँच्चैको विजेता आयोजक देश पनि रह्यो ।

हेल्लो शुक्रवार

विश्वकप २०१८: भाग्यमानी ब्राजिली टिम

- कान्तिपुर संवाददाता

ब्राजिली फुटबललाई लिएर एउटा समस्या के भने त्यहाँ जति पनि फुटबल प्रशंसक छन्, सबै प्रशिक्षक जत्तिकै छन् । ब्राजिलले केसरी खेल्नु पर्छ, सबैको आ–आफ्नो राय हुने गर्छ । ब्राजिल यसपल्टको विश्वकपमा क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन । यस्तोमा डर थियो, टिमको चर्को आलोचना हुनेछ । प्रशंसकहरूको रिस हेरिनसक्नु हुनेछ । तर होइन, यस्तो भएन । जति बेला ब्राजिली टिम रियो डे जेनेरियो फर्कियो, विमानस्थलमा खेलाडी र प्रशिक्षकले मीठो स्वागत पो पाए । समर्थकले जसरी टिमको समर्थन गरे, त्यसबाट विशेषत: प्रशिक्षक टिटे निकै खुसी देखिए । उनको भनाइ थियो, यस्तो स्वागतले टिमलाई अबका दिनमा अझ राम्रो खेल्ने प्रेरित गर्नेछ । टिटले पनि विश्वकपपछि ब्राजिली टिम हेरिरहने अवसर पाएका छन् । भाग्यमानी रह्यो, ब्राजिली टिम र उसका प्रशिक्षक ।

 

हेल्लो शुक्रवार

विश्वकप २०१८: ईपीएल र टोटनहमको कमाल

- कान्तिपुर संवाददाता

अब चाँडै हामीसँग हुनेछ, विश्वकप विजेता टिम । त्यस अगाडि सेमिफाइनल पुगेको चार टिमको आधारमा विजेताको एउटा अर्को विश्लेषण पनि त गर्न सकिन्छ । त्यसअनुसार सेमिफाइनल खेल्न चार टिममा सबैभन्दा बढी नौ खेलाडी टोटनहमका रहेछन् । त्यसपछि म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीका सात/सात खेलाडी । लिभरपुल, बार्सिलोना, पीएसजी र मोनाकोका चार/चार खेलाडी सेमिफाइनल पुगेको टिममा थिए । अनि लिगको आधारमा विजेता रह्यो, ईपीएल, अर्थात् इंग्लिस प्रिमियर लिग । सेमिफाइनल पुगेका टिममा यो लिग खेल्ने ४१ खेलाडी रहे । त्यसयता स्पेनको ला लिगा र फ्रान्सको लिग–वान खेल्ने १२/१२ खेलाडी । इंग्ल्यान्ड र त्यहाँको फुटबलका लागि यसपल्टको विश्वकप साँच्चै सम्झनालायक रह्यो ।

 

हेल्लो शुक्रवार

नथाक्ने मान्छे कस्तो होला ?

- हेलो शुक्रबार

मानिस दिनभरि दौडिँदा पनि थाकेन भने के हुन्छ ? वा जति घण्टा काम गर्दा पनि शरीर गलेन भने नि ? यो यस्तै परिकल्पनाका साथ म्यासाचुसेट्स युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मानव कंकालजस्तो देखिने नयाँ आवरण बनाइरहेका छन् जसलाई नाम दिइएको छ– एक्सोस्केलेटन ।
यो मानिसको शरीरको बाहिरी भागमा बस्ने आवरण हो जसले मानिसलाई बाहिरी चोटबाट बचाउनुका साथै उनीहरूको जैविक क्षमतामा वृद्धि गर्ने दाबी गरिएको छ ।


यसले मानिसको शरीरलाई थाक्नबाट बचाउने अनुसन्धानमा संलग्नहरू बताउँछन् । म्यासचुसेट्स यूनिभर्सिटीको बायोमेकाट्रोनिक्स ल्याबका अनुसन्धानकर्ताहरूले विकास गरेको यो आवरण, उनीहरूको भाषामा, नसा सन्निहीत डिजाइन सीपद्धारा तयार पारिएको बताइएको छ । यसले मानिसको शरीरको क्षमता बढ्नेछ ।


यो आवरण तयार पार्नका लागि अनुसन्धानरत उनीहरूले आफ्नो ल्याबमा मानिसले हिँड्दा वा दौडँदा कति शक्ति प्रयोग गर्छन् भन्ने जाँच्नका लागि ट्रेड मिलमा डिभाइस राखेर परीक्षण गरिरहेका छन् भने मानिसको जोर्नी र मांसपेशीको स्वरूप कस्तो हुन्छ भन्ने परीक्षणका लागि गतिशील क्यामेरा जडान गरेका छन् । यसबाट आउने तथ्यांकले आफूहरूलाई मानिसलाई अझ्न प्रभावकारी हिँड्न र दौडन सघाउने प्रणाली बनाउन सहायता पुग्ने उनीहरूको विश्वास छ ।


सामान्य मानिसलाई पनि ‘सुपर ह्युमन’ जस्तो बनाउन सक्ने यो आवरणको डिजाइन निर्माणमा संलग्न विश्वविद्यालयका विद्यार्थी टेलर क्लिटेसले अघिल्लो वर्ष नथाकी पियानो बजाउन मिल्ने मानिसको औंलाजस्तो डिभाइस बनाएका थिए ।


यसको निर्भीक नेतृत्वकर्ता हुन्– प्राध्यापक हुग हेर । उनी आफूलाई ‘बायोनिक म्यान’ भनी चिनाउन रुचाउँछन् किनकि उनी आफ्ना अप्राकृतिक खुट्टाको सहारामा हिँडडुल गर्छन् । किशोरावस्थामा दुवै हिमाली यात्राका क्रममा दुर्घटनामा परी दुवै खुट्टा गुमाएका उनी अहिले आफ्ना अनुसन्धान समूहले बनाइदिएको ‘हाइटेक’ खुट्टा लिएर यसको नेतृत्व गरिरहेका छन् ।


मानिसलाई असीमित शक्ति दिने यो आइडिया जति नयाँ र रोचक छ, उति नै घातक पनि हुन सक्छ । फाउन्डेसन फर रेस्पोन्सिबल रोबोटिक्सका सहसंस्थापक अर्का प्राध्यापक नोयल सार्के यो सोचप्रति चिन्ता व्यक्त गर्छन् ।


‘बरु यस्ता प्रविधिलाई धेरै मिहिनेत पर्ने कामका लागि प्रयोग गर्न सकिन्छ तर मानिसलाई जति काम गर्दा पनि नथाक्ने बनाउँदा मानिस शारीरिक रूपमा नथाके पनि मानसिक रूपमा भने थाकिरहेको हुन्छ र मानसिक थकान मेटाउने कुनै उपाय हुन्न,’ उनको चिन्ता छ ।


‘यस्तो खालको प्रणाली बनाएर यसको दुरुपयोग नहोस् भन्नुभन्दा बनाउँदादेखि नै यसको नैतिक रूपमा प्रस्ट हुनुपर्छ,’ उनी भन्छन्, ‘बरु ६ घण्टा काम गरेपछि स्वत: बन्द हुने खालको प्रणाली बनाऔं ।’


तर, यो आवरण बनाउन संलग्नमध्ये एक क्लिटेस प्रविधिलाई सीमित राख्नु हुन्न भन्ने धारणा राख्छन् । उनी भन्छन्, ‘कसैले रक्सी खाएर चलाउँछ भन्ने डरले हामी कार बनाउन रोक्न सक्दैनौं ।’
एक्सोस्केलेटन प्रविधि नौलो भने होइन । विभिन्न अनुसन्धान प्रतिवेदन र जर्नल लेखको आधारमा भन्ने हो भने यसको प्रयोग सन् १९६० देखि नै सैनिक प्रयोजनका लागि सुरु भएको थियो । अहिले पनि विभिन्न कम्पनीले एक्सोस्केलेटन बनाइरहेका छन् र विशेषत: उद्योगमा जोखिमपूर्ण काम गर्ने कामदारहरूले यसको प्रयोग गरिरहेका छन् ।


कार उत्पादक कम्पनी फोर्ड आफ्ना कामदारलाई एक्सोस्केलेटन प्रयोग गराउने कम्पनीमध्येको एक हो । तर, उनीहरूले प्रयोग गर्ने गरेको एक्सोस्केलेटन विद्युतीय तरंगरहित त । फोर्डसहित अन्य कम्पनीका कामदारले उद्योगमा काम गर्दा प्रयोग गर्ने एक्सोस्केलेटन विशेषत: सुरक्षाका लागि लगाइन्छ । विशेषत: गह्रांै सामान उचाल्दा ढाड वा शरीरका अंगलाई असर नगरोस् भन्नका लागि यसको प्रयोग गरिएको हो ।


तर, म्यासाचुसेट्स युनिभर्सिटीको समूहले निर्माण गर्ने भनेको एक्सोस्केलेटन अन्यभन्दा फरक छ किनकि यसले विशुद्ध बाहिरी आवरणका रूपमा मात्रै काम नगरी मानिसको नसासँग जोडिएर काम गर्ने महत्त्वाकांक्षा राखेको छ । र, यसमा संलग्न अनुसन्धानकर्ताहरूले भनेका छन्–यो यसअघि प्रयोगमा आएको एक्सोस्केलेटनजस्तो ठूलो खालको नभई अझ सानो हुनेछ ।
–बीबीसीबाट अनूदित र सम्पादित अंश

हेल्लो शुक्रवार

जिमेलमा सुरक्षित रहने तरिका

हेलो टेक
- कान्तिपुर संवाददाता

गत साता अन्य कम्पनीहरूले जिमेल प्रयोगकर्ताको इमेल पढ्न सक्छन् भन्ने खबरले तरंग ल्यायो । वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको समाचारमा जिमेलबाहेक अन्य कम्पनीका डेभलपरहरूले प्रयोगकर्ताको इमेल पढ्न सक्ने दाबी गरिएको थियो । उक्त दाबी सार्वजनिक भएपछि जिमेल असुरक्षित रहेको चर्चा व्याप्त भयो । अन्य कम्पनीका एल्गोरिदमले मात्रै नभई मानिसले नै इमेल पढ्न सक्ने दाबी गरिएकाले यसले गोपनीयता भंग हुने डर पनि फैलियो ।
प्रयोगकर्तालाई आफ्नो इमेल अरूले पढ्लान् भन्ने डर छ भने उनीहरूले सामान्य सुरक्षा अपनाएर यसलाई रोक्न सक्छन् ।


यसका लागि आफ्नो जिमेल एकाउन्टको दायाँपट्टि माथिल्लो भागमा रहेको प्रोफाइल पिक्चरमा क्लिक गरी गुगल एकाउन्टमा जानुपर्छ । अब खुल्ने नयाँ पेजमा प्रयोगकर्ताले विभिन्न थरी अप्सन देख्न सक्छन् ।


त्यहाँ सुरुमै रहेको साइन इन एन्ड सेक्युरिटी शीर्षकको तल रहेको एप्स विथ एकाउन्ट अप्सनमा गएर प्रयोगकर्ताले आफ्नो जिमेलमा पहुँच पाएका अन्य एपहरूलाई हटाउन सक्छन् ।
कुन–कुन आफ्नो जिमेलमा पहुँच पाएका छन् भन्ने प्रयोगकर्ताले देख्न सक्छन् । त्यहाँ रहेका एपमा क्लिक गरी रिभोक एक्सेस गरी उक्त एप्लाई आफ्नो एकाउन्टमा पहुँच बनाउनबाट रोक्न सकिन्छ ।

हेल्लो शुक्रवार

फेनिक्स ल्याउँदै मोजिल्ला

हेलो टेक
- कान्तिपुर संवाददाता

चर्चित ब्राउजर मोजिल्लाले आफ्नो नयाँ ब्राउजर सार्वजनिक गर्ने भएको छ । विशेषत: प्रविधिमा रुचि राख्ने समूहलाई लक्षित गरी सार्वजनिक गर्न लागिएको यो ब्राउजरको नाम फेनिक्स हुनेछ । साथै, यो किशोरावस्थाका प्रयोगकर्तालाई लक्षित गरी सुरु गर्न लागिएको हो । यो सुरुवाती समयमा एन्ड्रोइड डिभाइसका लागि मात्रै उपलब्ध हुनेछ । अहिले एन्ड्रोइड डिभाइसमा मोजिल्ला १० करोड बढी पटक डाउनलोड भएको छ ।


फेनिक्सलाई विशेषत: गुगल क्रोमको प्रतिस्पर्धी बनाउने कम्पनीको योजना छ । अहिले पनि गुगलले आफ्नो केही फिचरहरू क्रोममा मात्रै उपलब्ध गराउँदै आएको छ ।

हेल्लो शुक्रवार

७ करोड ट्वीटर एकाउन्ट डिलिट

हेलो टेक
- कान्तिपुर संवाददाता

माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्ला दुई महिनामा ७ करोड एकाउन्टहरू डिलिट गरेको छ । वासिङ्टन पोस्टले छापेको खबरअनुसार सफ्टवेयरमार्फत स्वचालित रूपमा सञ्चालन रहेका, नक्कली एकाउन्टहरू डिलिट गरेको जनाइएको छ ।


ट्वीटरले यसबारेमा कुनै टिप्पणी नगरे पनि आफ्नो प्लेटफर्मलाई सफा गर्नका लागि प्रभावकारी कदम उठाइएको दाबी गरेको छ ।


सोसल मिडियामा सफ्टवेयरद्वारा सञ्चालित हुने थुप्रै नक्कली एकाउन्टहरू रहेको खुलासा गर्ने अनुसन्धानकर्ता जुआन गुजम्यानले ट्वीटरले वर्षौंसम्म पनि यस्ता नक्कली एकाउन्टबारे बेवास्ता गरेको दाबी गर्छन् ।


ट्वीटरले पछिल्लो दुई महिनामा डिलिट गरेको एकाउन्टको संख्याले पनि सोसल मिडियामा रहेका नक्कली एकाउन्टको बिगबिगीको प्रभाव इंगित गर्छ ।

Page 24
हेल्लो शुक्रवार

नयाँ जोडी

ब्लकबस्टर मराठी फिल्म सैराटको हिन्दी रिमेक धड्कमा ‘स्टार किड’ इशान खत्तर र जान्भी कपुरले अभिनय गरेका छन् । धड्कबाट यो जोडी धुमधडाका गर्ला त ?
- कान्तिपुर संवाददाता

स्टार किड’ लाई डेब्यु गराउन खप्पिस छन्, करण जोहर । नातावादलाई प्रश्रय दिएको भन्दै उनको आलोचना पनि हुन्छ । तर उनका ब्यानरबाट अभिनय सुरु गरेको जोकोहीले लोभलाग्दो ख्याति कमाएका छन् । वरुण धवन, सिद्धार्थ मल्होत्रा र आलिया भट्ट पछिल्लो उदाहरण हुन् । स्टुडेन्ट अफ द इयरबाट करिअर सुरु गरेका यी तीन कलाकार यतिबेला ‘पिक’ मा छन् । उनीहरूको क्रेज मात्र होइन, अभिनय कौशलको पनि उस्तै प्रशंसा गरिन्छ । अनि त, दुनियाँले जे भनोस्, करण किन पछि हट्थे र ? त्यसकै प्रमाण हुन्, इशान खत्तर र जान्भी कपुर । करणले आफ्नो होम प्रोडक्सनको धड्कबाट यो जोडीलाई चम्काउने प्रयास गर्दैछन् ।


कलाकारद्वय राजेश खत्तर र नीलिमा अजिमका पुत्र हुन्, इशान । शाहिद कपुरचाहिँ उनका दाइ (आमा एउटै, बुबा फरक) हुन् । त्यसैले भन्नै परेन, उनी फिल्मी वातावरणमै हुर्किए । त्यस्तो त, धड्क उनको पहिलो फिल्म होइन । अघिल्लो वर्ष उनी अभिनीत वियोन्ड द क्लाउड्स रिलिज भएको थियो, जसलाई निर्देशन गरेका थिए, ‘भेट्रान’ माजिद माजिदी । फेस्टिभलहरूमा पर्याप्त चर्चा बटुले पनि यो फिल्म मूलधारको थिएन, त्यसैले मास अडियन्सले इशानलाई चिन्न पाएका छैनन् । धड्कबाट त्यही अभाव पूर्ति गर्ने प्रयास गरेका छन्, इशानले ।


उता, जान्भी त दिवंगत अभिनेत्री श्रीदेवी र निर्माता बोन्नी कपुरकी छोरी भइहालिन् । अर्जुन कपुरचाहिँ उनका सौतेनी दाइ । श्रीदेवी जीवित छँदै धड्कको सुटिङ करिब सकिएको थियो । श्रीदेवीको चाहमै खेलेकी थिइन् । तर आमाले फिल्म हेर्न पाइनन् । सोही कारण जान्भीले धड्कमा आफ्नो ‘भावना जोडिएको’ बताउँदै आएकी छन् । फिल्मलाई ‘हाइप’ दिलाउन माहिर करण जोहरले अनेक प्रयास गरिरहेका छन् । सामाजिक सञ्जालमा यो जोडीलाई खुब रुचाइएको छ । कतिसम्म भने उनीहरू ‘रियल लाइफ’ मा पनि प्रेममा छन् भन्ने खबर सार्वजनिक भएका छन् । प्रेमको प्रश्न सोध्दा दुवै मुस्कुराउँछन् मात्र । फेरि बलिउडमा फिल्म रिलिजको पूर्वसन्ध्यामा हिरो–हिरोइनको अफेयरको चर्चा हुनु नौलो होइन । आलियाकै नाम कहिले सिद्धार्थसँग जोडियो, कहिले वरुणसँग । त्यसैले फिल्म पब्लिसिटीको फन्डा मात्र पनि नहोला भन्न सकिन्न, इशान–जान्भीको अफेयर ।


तर धड्क प्रतीक्षित बन्नुको कारण यति मात्र अवश्य होइन । यसको आफ्नो विशेष गुण छ । यो सन् २०१६ मा प्रदर्शित मराठी फिल्म सैराटको हिन्दी रिमेक हो । चार करोड भारुमा बनेको सैराटले १ सय १० करोड कमायो, त्यो पनि मराठी भाषामा मात्र । निर्माताले अन्य भाषामा डबिङ गर्न इन्कार गरेका थिए । भारतीय लोकतन्त्रको अनेक दागमध्ये एक हो, ‘अनर किलिङ’ । अन्तरजातीय र अन्तरधार्मिक विवाहपछि परिवारले कथित इज्जत जोगाउन आफ्नै सन्तानको हत्या गर्ने घटना भारतमा दिनानुदिन बढ्दै छ । सन् २०१५ मा सोलापुरमा यस्तै ‘अनर किलिङ’ भएको थियो । यही घटनामाथि निर्देशक नग्राज मज्जुलेले सैराट बनाएका थिए । फिल्मले नसोचेको सफलता पायो । दर्शकको यति भीड लाग्यो कि हलमा चौबिसै घण्टा फिल्म लगाउनु पर्‍यो । मध्यरातका शो पनि हाउसफुल हुन्थे । इन्टरनेट मुभी डाटाबेस (आईएमडीभी) ले नै १० मा ८.५ रेटिङ दिएको छ । मुख्य भूमिका थिए, रिंकु राजगुरु र आकाश थोकर । फिल्म रिलिजको भोलिपल्ट कडा सुरक्षाकिना हिँड्नै नसक्ने भए, जता गए पनि दर्शकले पछ्याउने । रिंकुले त नेसनल अवार्ड नै जितिन् । भारतीय मिडियाले लेखेका थिए, ‘सैराटले खास अर्थको जादू देखायो । रिंकु र आकाशलाई ‘ओभरनाइट’ स्टार बनायो ।’


धड्कले ‘लिगेसी’ लाई निरन्तरता देला ? रिंकु र आकाशझैं इशान र जान्भी सर्वप्रिय बन्लान् ? यही प्रश्न इशानलाई सोधिएको थियो, धड्कको ट्ेरलर लन्च इभेन्टमा । उनले मुस्कुराउँदै जवाफ दिएका थिए, ‘सफलता/असफलता भोलिको कुरा । हामीले हाम्रातर्फबाट सक्दो प्रयास गरेका छौं । मेरा लागि भन्नुहुन्छ भने सैराटजस्तो महान् फिल्मको रिमेकमा खेल्न पाउनु सपनाजस्तै हो ।’


शशांक खैतान निर्देशित धड्क जुलाई २० मा रिलिज हुँदै छ ।
–एजेन्सीको सहयोगमा