You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

चुरे फाँड्दै सडक

१२ हजारभन्दा बढी रूख काटिए तर एउटै रोपिएन
- अब्दुल्लाह मियाँ,प्रताप विष्ट,डिल्लीराम खतिवडा

(काठमाडौं)/(हेटौंडा)/(उदयपुर) - धरान–गाईघाट–सिन्धुली–हेटौंडा सडक बनाउने क्रममा चुरे र महाभारत क्षेत्रका १२ हजारभन्दा बढी ठूला रूख काटिइसकेका छन् ।


झापादेखि डडेलधुरासम्म १२ सय किमि पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग निर्माण गर्ने सरकारको निर्णयअनुसार यसै वर्षदेखि काम थालिएको हो ।


धरानदेखि हेटौंडासम्मको ३ सय ११ किमि सडकलाई २ खण्डमा छुट्याई निर्माण भइरहेको छ । दुवै खण्डमा जम्मा १२ हजार ७ सय १० रूख काटिएका छन् । हेटौंडादेखि सिन्धुलीसम्म ४ हजार ३ सय ४ रूख कटान गर्न बाँकी रहेको पश्चिमी क्षेत्रका आयोजना प्रमुख कर्णबहादुर रानाभाटले बताए । आयोजना पूर्वी क्षेत्रका सूचना अधिकारी एवं इन्जिनियर रामदेयार चौधरीले विद्युत् प्राधिकरणले बिजुली पोल नहटाएका कारण रूख काट्न बाँकी रहेको जनाए ।


विकास निर्माण आयोजनाका लागि रूख काट्दा एउटा बराबर २५ वटा बिरुवा रोप्नुपर्छ । तर अहिलेसम्म दुवै खण्डमा एउटै बिरुवा रोपिएको छैन । डिभिजन वन कार्यालयले लागत स्टमेट र रोप्ने स्थान नदिँदा बिरुवा रोप्न नसकिएको आयोजनाको भनाइ छ । डिभिजन वन, मकवानपुरका प्रमुख प्रल्हाद धितालले भने आयोजनाले रूख रोप्नेबारे पत्राचारै नगरेको बताए । ‘रूख रोप्छु स्थान चाहियो भनेर पत्राचार गर्नुपर्ने हो,’ धितालले भने, ‘अहिलेसम्म कोही पनि सम्पर्कमा आएकै छैन ।’


चुरेमा रूख काटिँदा र डोजर चलाइँदा तल्लो तटीय क्षेत्रमा असर पर्ने विज्ञहरूले औंल्याएका छन् । चुरे क्षेत्रमै विद्यावारिधि गरेका विजयसिंह दनुवारका अनुसार यो सडकको धेरै भाग चुरे र केही महाभारतमा पर्छ । ‘त्रियुगादेखि मकवानपुरको फापरबारी–छतिवनसम्मै चुरे र महाभारत क्षेत्रमा डोजर चलाइने हुँदा त्यसको असर तराई–मधेसमा पर्छ,’ उनले भने, ‘कमलो पहाड भत्किने भएकाले अत्यधिक भूक्षयको सम्भावना छ ।’ राजमार्ग बनेपछि मानवीय चाप बढ्न गई चुरेमा अतिक्रमण र स्रोत दोहन हुन सक्ने दनुवारको विश्लेषण छ ।


सडक बनिरहेको क्षेत्रमा अहिले पनि खोलाखोल्सी छन् । त्यही ठाउँमा दोहन भए कमलो माटो बगेर तलतिरको मलिलो जमिन पुरिने दनुवारको चिन्ता छ । ‘चुरेको माटो बगेर गएपछि बाँकी अन्नभण्डारसमेत नराम्ररी प्रभावित हुन्छ,’ उनले प्रश्न गरे, ‘तत्काल देखिने विकासले विकराल अवस्था निम्त्याउन सक्छ ।’


सरकारले २०७१ असारमा मेची–महाकालीसम्मकै चुरेलाई संरक्षण क्षेत्र घोषणा गर्दै ‘राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति’ बनाएको थियो । समितिले चुरे २० वर्षे गुरुयोजना बनाएर चुरे, चुरेमा पर्ने नदी प्रणाली र तल्लो तटीय क्षेत्रको संरक्षणसम्बन्धी कार्यक्रम चलाइरहेको छ । चालु वर्ष यसमा करिब दुई अर्ब रुपैयाँ बजेट छ । धेरै बजेट स्थानीय तहमार्फत नदी/जलाधार संरक्षणमा खर्च हुँदै छ ।


संरक्षण कार्यक्रम चलिरहेकै बेला त्यही क्षेत्रलाई विध्वंस गरेर राजमार्ग योजना अघि सारिएकामा गुरुयोजना बनाउने टोलीका संयोजक वन विज्ञ विनोद भट्टलाई मन परेको छैन । ‘सरकार आफैंले चुरे संरक्षण गर्छु भन्ने अनि अहिले त्यहीं ध्वंस गर्ने रणनीति बुझ्न सकिएन,’ भट्टले भने, ‘प्राथमिकता के हो भन्नेमा सरकार अलमलिएको देखिन्छ ।’ चुरे दोहनले कोसी, वाग्मतीजस्ता ठूला नदीसाथै स–साना खोला र खोल्सीमा गेग्रानको मात्रा अत्यधिक हुने जानकारहरूको विश्लेषण छ । ‘त्यसरी बगेर आउने गेग्रानले जमिन, पुल, पुलेसा र मानवीय बस्तीसमेत पुर्न सक्छ,’ दनुवारले भने । जथाभावी खनिने सडकले चुरे क्षेत्रको जैविक विविधतालाई समेत नामेट पार्ने उनीहरूको बुझाइ छ ।


धरान–गाईघाट–हेटौंडा सडक करिब २२ अर्ब रुपैयाँ लगानीमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । अहिलेसम्म ३५ प्रतिशत काम भइसक्यो । पुलको ४० प्रतिशत काम सकियो । लोजार, माझी र कालीखोलामा पुल बनेका छन् । पश्चिमी क्षेत्रमा ३३ वटा पुल पर्छन् । त्यहाँ पनि तीनवटा बनिसके । १२ वटा पुलको ५० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । त्यसैगरी पूर्वपश्चिम राजमार्गलाई छ लेन बनाइँदै छ भने पूर्वपश्चिम रेलमार्ग र हुलाकी राजमार्ग तीव्र गतिमा निर्माण भइरहेका छन् । पाँचथरको चियो भन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) को निर्माण अन्तिम चरणमा छ । २०७२ चैत २९ को राजपत्रमा सहायक सडक मार्गमा मध्यभागबाट दायाँबाया १५/१५ मिटर सीमा कायम गरिने उल्लेख छ । सरकारले उक्त सडकलाई प्राथमिकताको आयोजनामा राखेर चालु वर्ष ३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो सडकअन्तर्गत मकवानपुरमा १२ र सिन्धुलीमा २१ वटा पुल पर्छन् । करिब १५ महिनामा ३३ वटै पुल निर्माण गरिसक्ने आयोजनाले दाबी गरेको छ । १ सय १५ किमिध्ये ७० किलोमिटर टेवा पर्खाल, नाली कजवे निर्माणसाथै ११/११ मिटर चौडा बनाइसकिएको छ । ४० किमिमा कालोपत्रे तयारी अन्तिम चरणमा छ ।


‘आगामी २ वर्षभित्र धरान–चतरा सडक कालोपत्रे गर्ने योजना छ,’ आयोजना प्रमुख रानाभाटले भने, ‘सरकारले उच्च प्राथमिकता दिएकाले २ वर्षभित्र यहाँ सवारीसाधन गुड्न थाल्छन् ।’ मदन भण्डारी राजमार्ग हेटौंडाबाट नवलपरासी पूर्वको गैंडाकोट हुँदै पाल्पाको रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, घोराही, तुलसीपुर, सुर्खेत, बीपीनगर, सहजपुर, जोगबुढा हुँदै रुपाल पुगेर अन्त्य हुनेछ । चुरे विज्ञ दनुवारले राजमार्ग बनाउने क्रममा दाङ, सुर्खेत, डोटी र डडेलधुरामा सबैभन्दा बढी चुरे विनाश हुने जनाए । ‘कमलो चुरेमा अहिले नै पहिरोको संख्या अत्यधिक छ,’ उनले भने, ‘त्यहीं डोजर चलाउँदा थामिनसक्नु हुन्छ ।’


त्रिचन्द्र कलेजको भूगर्भ विभागका सहप्राध्यापक सुबोध ढकाल चुरे क्षेत्रबाट सडक बनाउनुअघि ‘बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा देखिएको समस्या मिहिन तरिकाले हेर्न सुझाउँछन् । ‘चुरेमा सडक बनाउनै नहुने होइन तर संवेदनशील स्थान पहिचान गर्न नसकिए लामो समयसम्म समस्या निम्तिन सक्छ,’ उनले भने, ‘चुरे कमजोर र संवेदनशील हुने भएकाले जति बेला पनि विकराल रूप लिन सक्छ ।’ चुरे समितिको सहयोगमा त्रिविको वातावरण तथा विज्ञान केन्द्रीय विभागले गरेको अध्ययनअनुसार २२ जिल्लाका चुरे क्षेत्रमा करिब १० हजार हाराहारी पहिरो छन् । ढकालका अनुसार यी पहिरो सन् २००० देखि सन् २०१७ सम्म निम्तिएका हुन् ।

गृह पृष्ठ

किशोरी हत्या प्रकरण: पक्राउ गरिएका तीनै जना छाडिए

- चित्रांग थापा,भवानी भट्ट

(महेन्द्रनगर) - महेन्द्रनगर– १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुख्य अभियुक्त दाबी गरिएका दिलीप विष्ट मंगलबार थुनामुक्त भएका छन् । किशोरीको शरीरबाट संकलन गरिएको नमुनासँग विष्टको डीएनए मेल नखाएपछि उनलाई जमानीमा छाडिएको हो ।


विष्टलाई जिल्ला प्रहरी कार्यालयले ३२ दिनअघि पक्राउ गरेको थियो । भदौ ७ गते पक्राउ गरिएका दिदीबहिनी रोशनी र निर्मला बमलाई पनि प्रहरीले मंगलबारै छाडेको छ । मुद्दा चलाउने ठोस प्रमाण नभेटिएपछि छाडिएको जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले बताए । विष्टलाई उनकै दाइ खडक र बमद्वयलाई बुवा नरेन्द्रको जिम्मा लगाइएको थियो ।


दिलीप र रोशनीलाई सरकारी वकिलको राय लिएर जमानीमा र बबितालाई ३० हजार धरौटीमा छाडिएको कडायतले बताए । फौजदारी संहिताअनुसार अनुसन्धान अधिकृतले हिरासतमा रहेका व्यक्तिलाई मुद्दा चलाउने प्रमाण नभेटे सरकारी वकिलको राय लिएर छाड्न पाउने व्यवस्था छ । ‘तीनै जनामाथि मुद्दा चलाउने यथेष्ट प्रमाण नभेटिएपछि छाडिएको हो,’ कडायतले भने, ‘तर उनीहरूमाथि निगरानी भने रहन्छ, आवश्यक परेका बेला उपस्थित हुने कागज बनाएका छौं ।’ मुद्दा नचले कसैलाई पनि २५ दिनभन्दा बढी थुनामा राख्न पाइँदैन ।
जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले आशंकित थप व्यक्तिको डीएनए परीक्षणका लागि प्रहरीलाई निर्देशन दिइएको बताए । डीएनए रिपोर्ट सोमबारै आए पनि मंगलबार मात्रै सार्वजनिक गरिएको हो ।


यसअघि हत्यारालाई कारबाही माग्दै स्थानीयले आन्दोलन तीव्र पारेका थिए । विष्टको पक्राउपछि उनीहरूले मानसिक अवस्था ठीक नभएकालाई फसाउन खोजिएको भन्दै वास्तविक दोषी पत्ता लगाउन प्रहरीलाई दबाब दिँदै आएका छन् । पक्राउपछि दिलीपको स्वास्थ्य परीक्षण गर्न काठमाडौं लगिएको थियो । उक्त परीक्षणमा स्पष्ट केही खुल्न नसकेको कडायतले बताए । ‘झूटो बोल्ने, जे पायो त्यही कुरा गर्ने भन्ने आएको छ,’ उनले भने ।


हिरासतबाट छुटेपछि विष्टले खासै बोल्न चाहेनन् । उनले आफू निर्दाेष भएको बताए । दाइ खडकले निर्दाेषलाई फसाउन खोजिए पनि प्रमाणित हुन नसकेको प्रतिक्रिया दिए । ‘सबैलाई थाहा छ, ऊ निर्दाेष छ,’ उनले भने, ‘डीएनए रिपोर्टले पनि त्यो प्रमाणित गरेको छ ।’ एसपी कडायतले अनुसन्धान तीव्र पारिएको जनाएका छन् । ‘विभिन्न चरणमा अनुसन्धान भइरहेका छन्,’ उनले भने । अनुसन्धानका लागि एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत आएको छ ।


साउन १० गते भीमदत्त–१८ भगतपुरस्थित घरमा पढ्न पुगेकी निर्मलाको दोस्रो दिन निम्बुखेडास्थित उखुबारीमा शव भेटिएको थियो । पीडित परिवार र स्थानीयले दोषी पत्ता लगाउन माग गर्दै आन्दोलन चर्काएका थिए । भदौ ४ गते विष्टलाई सार्वजनिक गरिएपछि आन्दोलन झन् चर्किएको थियो । त्यस क्रममा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु हुनुका साथै १५ जनाभन्दा बढी घाइते भए । उक्त घटनापछि अनुसन्धानमा खटिएका अधिकारीसँग प्रहरी प्रमुखलाई काठमाडौं तानेर एसपी दिल्ली विष्टलाई निलम्बन गरिएको थियो । गृह मन्त्रालयले घटना छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । समितिको १५ दिने म्याद सकिएपछि फेरि १५ दिन थपिएको छ । म्याद थपिएपछि समिति सदस्य प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले जीवनरक्षाको अपिलसहित निर्मलालाई न्याय दिन नसक्ने भन्दै राजीनामा दिएका छन् ।


यसैबीच कञ्चनपुरका अधिकारकर्मीसँगै निर्मलाका आमाबुबा सोमबार काठमाडौं पुगेका छन् । उनीहरूले त्यहाँ घटनाको यथार्थ पत्ता लगाउन पहल गर्नेछन् ।

गृह पृष्ठ

रुकुमकोटमा कमलको अचार

- हरि गौतम
रुकुमपूर्व सिस्ने गाउँपालिका–५ स्थित एक घरबाट कमलको चाना बिक्री गरिँदै । तस्बिर : हरि

 (रुकुमपूर्व) - रुकुम ५२ पोखरी ५३ टाकुरीका नामले चिनिन्छ । दह नै दह । दहमा फुल्ने कमल । आजभोलि कमलका जरा निकाल्न ठेक्का लाग्न थालेको छ । नेपालगन्जका टेकबहादुर विष्टलाई सिस्ने गाउँपालिका रुकुमकोटमा खाएको अचार स्वादिलो लाग्यो । स्थानीय होटलको भान्सामा सोधे । होटल सञ्चालकले कमलको चानाबाट बनाएको भनेपछि उनले थप सोधखोज गरे ।
त्यतिबेला दहमा कमल फुलेको थियो । तर, ती चाना गत वर्षका थिए, सुकाएर अचार बनाइएको । रुकुमकोट यसअघि कमल दहले चिनिन्थ्यो । अहिले कमलको अचारले आगन्तुक भुलाउने गर्छ । केही वर्षदेखि स्थानीय होटलका मेनुमा यस्तो अचार अनिवार्य बनेको छ । गाउँमा पनि यसलाई खुब मन पराइन्छ ।


कमल दहबाट निकालिएका जरा अचारकै लागि स्थानीयले किन्छन् । जरा धेरै हुँदा बिक्री गरेर बाँकी रहेको चाना बनाउन थालिएको हो । ‘दहले मात्र होइन, अब रुकुमकोट कमलको अचारले पनि चिनिन थालेको छ,’ विष्टले भने । कमलको अचार स्वादिष्ट हुनुका साथै स्वास्थ्यबद्र्धक पनि मानिन्छ । आयुर्वेदमा कमलको जरा पिसाब र दम रोगका लागि राम्रो औषधि मानिन्छ ।

कमलदह गेस्ट हाउसका सञ्चालक मधुकर शाहले होटलमा आउने पाहुनाले यही अचार खोज्ने गरेको बताए । ‘थाहा पाएका ग्राहक आए खोजिहाल्छन्, नयाँ आए हामी आफैं सोध्छौं,’ शाहले भने । पहिलो पटक अचार खाएकाले फेरि आँदा खोज्ने गरेको अनुभव उनीसँग छ । माघदेखि वैशाखसम्मै ताजा जराकै अचार पाइने भए पनि अन्य समयमा सुकाएका चानाबाट बनाइन्छ ।


कमलको जरा निकाल्ने ठेक्का पाएका दीपक शाहीले बिक्री नभएपछि त्यसैलाई सुकाएर चाना बनाउने गरेको बताए । उनका अनुसार चाना प्रतिमाना ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ । राम्रोसित सुकाएको चाना लामो समयसम्म रहने भएकाले धेरैले बनाएर राख्ने गरेको उनले सुनाए । उनले गत जेठयता एक लाख रुपैयाँको चाना बिक्री गरेका छन् । दुई सय माना चाना बिक्री गरेका उनले अझै सय माना बिक्रीका लागि तयार रहेको बताए । स्थानीयसँग पनि चाना पाइन्छ । रुकुमकोटका होटल तथा सल्यान, दाङसम्म कमलका चाना बिक्री हुने गरेको छ । काम विशेषले रुकुमकोट पुग्नेले चाना किनेर लैजाने गरेको स्थानीय भीमबहादुर शाहले बताए । गत सिजनमा कमलको जरा बिक्रीबाटै ७ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको थियो । सिस्ने गाउँपालिकाले ठेकेदार शाहीलाई एक सिजनको ८० हजार रुपैयाँमा कमलको जरा निकाल्ने ठेक्का दिएको हो ।

गृह पृष्ठ

‘रेडलाइट एरिया हुनुपर्छ’

- कान्तिपुर संवाददाता

लेखनाथ (कास)– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् । होटल संघ नेपालले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले ‘रेडलाइट एरिया’ हुनुपर्ने या परिचयपत्र व्यवस्था गर्नुपर्ने सुझाए । ‘जति रोक्न खोजेपनि भित्रभित्र धन्दा भइरहेकै छ,’ उनले भने, ‘बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।’ परिचयपत्रको व्यवस्था गरे थोरथोरै कर पनि उठाउन सकिने उनले जनाए । ‘परिचयपत्र हुने हो भने यहाँको होटल व्यवसाय अझै फस्टाउने मौका पाउँछ,’ उनले भने, ‘यसो गर्दा उपयुक्त हुन्छ कि ?’ विभिन्न जिल्लाबाट कर्मचारी पोखरा आउँदा सरकारी अतिथिगृहमा नबस्ने उल्लेख गर्दै उनले भने, ‘लेकसाइड जाने कारण त्यही रहेछ ।’

गृह पृष्ठ

फेसबुकमा गालीगलौज आरोपमा कलाकार पक्राउ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– फेसबुकमा कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई गालीगलौज गरेको आरोपमा प्रहरीले कलाकार एवं चलचित्र निर्देशक देशभक्त खनाललाई पक्राउ गरेको छ । उनलाई मंगलबार बिहान पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु लगिएको छोरा अभ्युदय खनालले बताए । अभ्युदयका अनुसार तीन वर्षअघि रामकेशरसँग देशभक्तले खरिद गरेको जग्गामा किचलो आएको थियो । निजी गुठी मिसिएको जग्गा थाहा नदिई किनाएको भन्दै देशभक्तले रामकेशरविरुद्ध फेसबुकमा लेखेका थिए ।

Page 2
समाचार

सार्वजनिक पदाधिकारीका विवरण गोप्य नरहने

गोपनीयता विधेयक संशोधन गर्न संसदीय समितिमा सहमति
- मकर श्रेष्ठ

 (काठमाडौं) - सार्वजनिक पद धारण गरेका व्यक्तिको वैयक्तिक विवरण गोप्य नहुने भएको छ । संसदको राज्य व्यवस्था समितिले सार्वजनिक पदमा आसीन व्यक्तिको परिभाषासमेत खुलाएर ती व्यक्तिको व्यक्तिगत विवरण खुला हुने सहमति गरेको हो । राज्यको ढुकुटीबाट तलब सुविधा पाउने व्यक्तिलाई सार्वजनिक पद धारण गरेको मानिन्छ ।


सरकारले संसद्मा ल्याएको वैयक्तिक गोपनीयता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण गोप्य राख्नुपर्ने प्रस्ताव थियो । विधेयकमाथि परेको संशोधनको छलफलमा समितिले सार्वजनिक पदधारी व्यक्तिले बुझाएको सम्पत्ति विवरण, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रलगायतको विवरण तत्सम्बन्धी सूचनाको
समाचार प्रकाशन तथा आलोचना गर्न असर नपर्ने प्रावधान राख्ने टुंगो लगाएको हो । त्यस्तै सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले व्यक्त गरेको मन्तव्य, विचार प्रकाशन वा प्रसारण गर्न सकिने प्रावधान विधेयकमा थप गरेको छ ।


‘सार्वजनिक हकहित वा नागरिक सचेतनाका लागि सरकार वा संवैधानिक निकाय, संघसंस्थामा रहने व्यक्तिले गरेको कार्यको स्वस्थ आलोचना, लेख रचना, समाचार लेख्न, टिप्पणी, व्यंग्यात्मक तस्बिरको संकलन, प्रकाशन गर्न’ छुट दिने व्यवस्था राख्न समितिमा सहमति जुटेको हो । विधेयकमा कानुनबमोजिम कुनै कसुरको अनुसन्धान वा अभियोजन गर्ने अधिकारी वा अदालतले प्रयोग गर्ने अधिकार तथा अदालतको कारबाहीको सम्बन्धमा मात्रै ऐनमा लेखिएको कुनै कुराले प्रतिकूल असर नपर्ने भनिएको थियो ।


परिमार्जित विधेयकमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका पदाधिकारी तथा कर्मचारीलाई समेत समेट्ने सहमति भएको छ । सत्ता पक्षका सांसद कृष्णभक्त पोखरेल, पवित्रा निरौला, नारायणप्रसाद खतिवडा, घनश्याम खतिवडा, शशी श्रेष्ठ र नवीना लामाले विधेयकमा संशोधन राखेका थिए । ‘संविधानले पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गरेको छ । नयाँ कानुनमा प्रेसलाई संकुचन हुने गरी कुनै पनि प्रावधान राखिनु हँुदैन,’ पोखरेलले भने, ‘सार्वजनिक जीवनका व्यक्तिका विषयमा खोजमूलक लेख रचना स्वस्थ आलोचना, सार्वजनिक ठाउँमा लिएका फोटा, कार्टुन प्रकाशन र प्रसारण गर्न यो कानुनले निषेध गर्न खोजेको होइन है भन्ने सन्देश आजको सहमतिले दिएका छौं ।’


विधेयकमा सर्वसाधारण र सार्वजनिक पदमा रहेका व्यक्तिको परिभाषा नै फरक बनाएर अन्य कानुनसँग नबाझिने तथा प्रेसमैत्री बनाएको सांसदहरूले बताए । सम्पत्तिसम्बन्धी गोपनीयताको व्यवस्थामा सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न बाधा नपर्ने छलफलका क्रममा थप गरिएको छ ।


तथ्यांकसम्बन्धी गोपनीयतामा रोजगारीसम्बन्धी विवरण गोप्यभित्र नपर्ने भएको छ । विधेयकमा सम्बन्धित व्यक्तिको सहमतिबिना स्वास्थ्य परीक्षण, सम्पत्ति, आयआर्जन, रोजगारी, पारिवारिक, जैविक विवरण, हस्ताक्षर, राजनीतिक आबद्धता, व्यवसाय कारोबार सार्वजनिक गर्न नहुने उल्लेख थियो । तस्बिर खिच्न वा बिक्री गर्न नहुने दफालाई पनि मुलुकी फौजदारी संहितासँग मिलाइने भएको छ । संहितामा भएको व्यवस्थासँग गोपनीयतासम्बन्धी विधेयकमा राखिएको प्रावधान बाझिएको थियो । संहिताको दफा २९५ मा अनुमतिबिना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न नहुने व्यवस्था छ । कुनै व्यक्तिको अनुमतिबिना निजको तस्बिर खिच्न वा निजको तस्बिरसँग अरू कसैको तस्बिर राखी अर्को तस्बिर बनाउन नहुने संहितामा भनिएको छ । कसैले कुनै सार्वजनिक स्थानको तस्बिर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्तिसमेतको तस्बिर खिचिन गएको रहेछ भने कसुर गरेको नमानिने व्यवस्था छ । अनुमतिबिना तस्बिर खिचेमा एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान राखिएको छ । तर, गोपनीयतासम्बन्धी विधेयकमा सजाय ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने वा दुवै सजाय हुने व्यवस्था थियो ।


सोचविचार गर्नुस् : गृह सचिव राई
वैयक्तिक गोपनीयता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ३५ र ३६ मा मात्रै राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा छलफल हुन बाँकी थियो । विधेयकको दफा ३४ मा गृह मन्त्रालयले यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि कानुनबमोजिम कुनै कसुरको अनुसन्धान वा अभियोजन गर्ने अधिकारी वा अदालतले प्रयोग गर्ने अधिकार तथा अदालतको कारबाहीको सम्बन्धमा ऐनमा लेखिएको कुनै कुराले प्रतिकूल असर पारेको मानिने छैन भनिएको थियो । यही दफामा तीनवटा संशोधन परेका थिए ।


सांसद दिव्यमणि राजभण्डारीले यो दफा नै हटाउनुपर्ने संशोधन हालेका थिए । सांसद कृष्णभक्त पोखरेलसहित ६ जनाले गृहले ल्याएको दफा ३४ लाई उपदफा १ कायम गरे उपदफा २ मा यस ऐनमा अन्यत्र जेसुकै लेखिए पनि सार्वजनिक पदमा बहाल रहेका कुनै पनि व्यक्तिले निर्वाह गरेको भूमिका, व्यक्त गरेको विचार, कामको आलोचना, लेख रचना समाचार संकलन गरी प्रकाशन प्रसारण गर्न सकिने संशोधन हालेका थिए । त्यस्तै शैक्षिक प्रमाणपत्र, नागरिकता, सम्पत्ति विवरणको सूचना, विवरण तथ्यांकको समाचार प्रकाशन, प्रसारण गर्न, टिप्पणी गर्न, लेख लेख्न र स्वस्थ आलोचना गर्न प्रतिकूल असर पारेको मानिने छैन भन्ने थप गरेका थिए । शेरबहादुर तामाङले सार्वजनिक पद धारण गरेको व्यक्तिको सम्पत्ति विवरणलगायत अन्य विवरण सार्वजनिक गर्नुपर्ने संशोधन हालेका थिए ।


दफावार छलफलमा पोखरेलसहित ६ जनाले हालेको संशोधन भाषा मिलाएर समावेश गर्ने राज्य व्यवस्था समितिका सदस्यबीच सहमति भएपछि गृह मन्त्रालयका सचिव प्रेमकुमार राई आक्रोशित भए । सांसदसमेत सार्वजनिक पद धारण गरेको व्यक्तिभित्र पर्ने भन्दै कानुन बनाउँदा विचार पुर्‍याउनुपर्ने उनले बताए । ‘तपाईं हामी सबै सार्वजनिक पद धारण गर्ने व्यक्तिभित्र पर्छौं,’ उनले भने, ‘यसमा अलि सोचविचार गर्नुपर्छ ।’ सार्वजनिक पदमा नभएका व्यक्तिले जे गरे पनि छुट दिने अनि सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण सबै सार्वजनिक गर्नु गलत भएको उनले बताए । ‘विधेयकमा राख्न लागेको व्यवस्थाले भविष्यमा के असर पार्छ विचार गर्नुपर्छ,’ उनले समितिको बैठकमा भने, ‘चिकित्सकले अपरेसन गर्न नमानेजस्तै सार्वजनिक पद धारण गरेका व्यक्तिले पनि त्यस्तै गरे के हुन्छ ?’

समाचार

बिमस्टेक सैन्य अभ्यास : नेपाल र थाइल्यान्ड पर्यवेक्षक

सैन्य अभ्यासमा भाग नलिनु सार्वभौम राष्ट्रको स्वतन्त्र निर्णय : भारतीय विज्ञ
- सुरेशराज न्यौपाने

 (नयाँदिल्ली)- भारतको पुनेमा सोमबार शुरु विमस्टेक सैन्य अभ्यासमा नेपाल र थाइल्याण्ड पर्यवेक्षकका रुपमा सहभागी भएका छन् । अर्ध सहरी क्षेत्रमा प्रतिआतंकवादविरुद्धको तयारीका लागि आयोजना गरिएको ‘माइलेक्स–२०१८’ संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका ३ अधिकृत पर्यवेक्षकका रूपमा मात्र सहभागी भएका हुन् ।


कूटनीतिक विश्लेषकहरूले बिमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुनुलाई सावभौम राष्ट्रको स्वतन्त्र निर्णयका रुपमा हेरिनुपर्ने बताएका छन् । यति कारणले नेपाल–भारत सम्बन्धमा कुनै असर नपर्ने उनीहरूको भनाइ छ ।


भारतीय संचारमाध्यले भने नेपालले विमस्टेक सम्मेलनका क्रममा प्रतिवद्धता जनाएअनुसार अभ्यासमा सहभागी नहुनु उपयुक्त नभएको जनाएका छन् ।


दुई साताअघि काठमाडौंमा सम्पन्न बिमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गोवामा हुने प्रतिआतंकवादसम्बन्धी संयुक्त सैन्य अभ्यासमा सहभागी हुन बिमस्टेक राष्ट्रहरूलाई आग्रह गरेका थिए । नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजन भारतले सैन्य अभ्यासमा नेपालले भाग लिने आशा गरे पनि अचानक पछि हटदा केही चित्त दुख्नु स्वाभाविक भए पनि यही घटनाले दुई देशबीचको सम्बन्धमा समस्या सुरु हुन्छ भन्नु गलत रहेको बताउँछन् । ‘भारतले चाहँदैमा नेपाल सधैँ सहमत हुनैपर्छ भन्ने छैन । नेपालको आफ्नो दृष्टिकोण हुनुलाई अन्यथा मान्न मिल्दैन,’ उनले भने, ‘भारतले चित्त दुखाउनुको तुक छैन । किनकि यो कुनै नीतिगत निर्णय होइन । नेपाल आफ्नो हित हेरेर निर्णय गर्न स्वतन्त्र छ ।’
बिमस्टेक मामिलाका जानकार तथा ब्रुकिंग्स इन्डियाका रिर्सच फेलो कन्स्टयान्टिनो हयाभिरले आफ्नो टिवटमा नेपालको यो निर्णय सैन्य साझेदारीको सीमा र यसले संगठनलाई पार्न सक्ने नकारात्मक प्रभावका सम्बन्धमा भारतलाई पाठ भएको जनाएका छन् । ‘स्वतन्त्र व्यापार क्षेत्र सम्झौतालाई थाती राखेर भारत सुरक्षा विषयमा केन्द्रित भएको छ । बिमस्टेकको प्राथमिकता क्षेत्रीय कनेक्टिभिटी बढाउनु र बंगालको खाडीको सञ्जाल ब्युँताउनु हो,’ उनले करिब दुई साताअघि प्रकाशित एक लेखमा जनाएका छन् । दिल्लीस्थित अन्तर्राष्ट्रिय मामिला तथा सुरक्षासम्बन्धी थिंक टयांक आइडिएसका रिसर्च फेलो निहार नायक संयुक्त सैन्य अभ्याससम्बन्धी प्रस्ताव अनौपचारिक भएकाले त्यसमा भाग नलिने निर्णयलाई धेरै उचाल्नु अर्थहीन हुने बताउँछन् । ‘औपचारिक प्रस्ताव भए त्यो सबैभन्दा पहिले सचिवालय र महासचिवमार्फत पेस हुनुपर्छ । यसरी अनौपचारिक ढंगबाट ल्याइएको प्रस्ताव भारतका प्रधानमन्त्रीले भन्नेबित्तिकै एउटा सार्वभौम मुलुकको सरकार र सेनाले मान्नैपर्छ भन्ने छैन,’ उनले भने ।


भारतीय सञ्चारमाध्यमले भने नेपालको निर्णयप्रति भारत असन्तुष्ट रहेको र यसले दुई देशबीचको सम्बन्धमा अविश्वास सिर्जना गर्ने उल्लेख गरेका छन् । टाइम्स अफ इन्डियाको मंगलबारको अंकमा नेपालको निर्णय एकदमै गलत समयमा भएको र यसले भारतलाई चोट दिएको उल्लेख छ । पूर्वविदेश सचिव कवल सिब्बलाई उद्धृत गर्दै नेपालको यो कदमले भारतसँगको सम्बन्धमा असर पर्ने जनाइएको छ । आगामी साता नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुन गइरहेको पृष्ठभूमिमा नेपालले पुनाको सैन्य अभ्यासमा भाग लिएको भए सन्तुलन रहने धारणा सिब्बलको छ । ‘यस्ता कदमले भारतको धारणा बदलिने र यसको मूल्य भविष्यमा नेपालले संकट बेहोर्दा मात्र थाहा हुनेछ,’ सिब्बललाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ । सोही पत्रिकाको आइतबारको संस्करणमा नेपालले सैन्य अभ्यासमा भाग नलिएर भारतको उपेक्षा गरेको उल्लेख गरिएको थियो । यो निर्णयका पछाडि प्रधानमन्त्री केपी ओलीको चीनप्रतिको झुकाव र सत्तारूढ दलभित्र र बाहिर चर्को विरोध प्रमुख कारण रहेको पत्रिकाले औंल्याएको थियो ।


अर्को अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले सैन्य अभ्यासमा भाग नलिनुका पछाडि आन्तरिक दबाब रहेको नेपालको भनाइबाट दिल्ली विश्वस्त हुन नसकेकोदाबी गरेको छ । यससम्बन्धमा भारतको विदेश मन्त्रालय र रक्षा मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । ‘नेपालको यो निर्णयले भारत र पूरै बिमस्टेकलाई लज्जास्पद स्थितिमा पुर्‍याएको छ,’ स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको छ ।


यो कदमलाई कतिपय भारतीय सञ्चारमाध्यमले नेपाल र चीनबीच हालै काठमाडौंमा भएको पारवहन प्रोटोकल समझदारीसँग पनि जोडेर हेरेका छन् । भारतको अंग्रेजी अनलाइन न्युज पोर्टल द प्रिन्टले सैन्य अभ्यासमा भाग नलिने निर्णय र पारवहन प्रोटोकल समझदारीका सम्बन्धमा भारतले नेपालसमक्ष असन्तुष्टि व्यक्त गरेको जनाएको छ । उक्त पत्रिकाले नेपालको निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि गैरकूटनीतिक प्रहारका रूपमा रहेको उल्लेख गरेको छ । पूर्वराजदूत राजन भने पछिल्लो निणर्यले दुई देशबीचको सुदृढ र विश्वासिलो सम्बन्धमा कुनै अविश्वास सिर्जना गर्नेमा आफूलाई रत्तिभर विश्वास नभएको बताउँछन् ।


नेपालको निर्णयलाई भारतविरुद्ध भनेर प्रस्तुत गर्ने प्रवृत्ति भारतीय सञ्चारमाध्यममा विगतदेखि नै रहँदै आएको उनको जिकिर छ । ‘यो कुनै ठूलो नीतिगत निर्णय होइन । पछिल्लो समय नेपाल र भारतबीच समझदारी विकास भएको हुँदा यो निर्णयले दुई देशबीचको सम्बन्धमा केही फरक पार्दैन,’ उनले भने । ‘यही एउटा निर्णयले नेपाल भारतविरोधी भयो भन्नेमा मलाई विश्वास छैन, भारतीय मिडियाले अनावश्यक ढंगले उठाइरहेका मात्र हुन् । थाइल्यान्डले पनि भाग लिएन, ऊ भारतविरोधी भयो त ?’ राजनले प्रतिप्रश्न गरे ।

समाचार

किशोरी हत्या प्रकरण: विष्टको डीएनए मिलेन

- अतुल मिश्र,स्वरूप आचार्य

(काठमाडौं)- बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको ‘भजाइनल स्वाब’को नमुना प्रहरीले आफ्नै प्रयोगशालामा मात्रै परीक्षण गरेको पाइएको छ । राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा आरोपी दिलीपसिंह विष्टको मात्र डीएनए परीक्षण गरिएको छ । ‘हामीले आरोपित भनिएका व्यक्तिको रगतको नमुना निकालेर डीएनए परीक्षण गर्‍यौं, त्यसको प्रतिवेदन सीआईबीमा पठाएका छौं,’ प्रयोगशालाका निमित्त निर्देशक वीरेन्द्रराज शाक्यले कान्तिपुरसँग भने । प्रयोगशालाबाट गएको प्राविधिकले आरोपित व्यक्तिको रगतको नमुना संकलन गरेर ल्याएको उनले बताए । ‘हामीले एक जनाको मात्रै परीक्षण गर्‍यौं, निर्मलाको भजाइनल स्वाबको नमुना हामीकहाँ आएको छैन,’ शाक्यले भने ।


नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले निर्मलाको ‘भजाइनल स्वाब’ प्रयोगशाला नपठाइएको स्विकारे । ‘किनकि प्राप्त नमुना हामीले परीक्षण गरेपछि त्यहाँ पठाउन यथेष्ट बाँकी रहेन,’ उनले भने । थापाका अनुसार प्रहरीको प्रयोगशालामा विष्टको पनि डीएनए परिक्षण गरिएको थियो । ‘प्रहरी र विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षण मिलाएर हेर्दा निर्मलाबाट लिइएको स्वाबसँग विष्टको डीएनए मेल खाएन,’ उनले भने, ‘स्वाब परीक्षणमा भेटिएको डीएनए कसको हो, अनुसन्धानबाट खुल्नेछ ।’ उनले डीएनए म्याच नभएकैले आरोपीलाई सरकारी वकिलको रायबमोजिम छाडिएको बताए ।


किन गरिन्छ डीएनए परीक्षण ?
प्रयोगशालामा पितृत्व पहिचान, अपराध, बलात्कार, हत्याजस्ता घटनाका आरोपी तथा जनावरको डीएनए परीक्षण गर्ने गरिन्छ । पितृत्व पहिचानका लागि रगत, मुखभित्रको छालाको स्वाब संकलन गरिन्छ । बलात्कार घटनामा पीडितको योनिभित्रको स्वाव, बिर्य र घटनास्थलमा पाइएको रगत, कपाललगायतबाट डीएनए परीक्षण गरिने प्रयोगशालाका निमित्त निर्देशक शाक्य बताउँछन् ।


अपराधअन्तर्गत घटनास्थलमा रगत, छाला, बिर्य, कपाल, हाड जे पाइन्छ त्यसको परीक्षण गरिन्छ । ‘घटनास्थलमा भेटिएका जुन जुन नमुनामा कोष हुन्छ त्यसको डीएनए परिक्षण गर्न सकिन्छ,’ शाक्यले भने । केही वर्षयता डीएनए परीक्षण माध्यमले यस्ता थुप्रै मुद्दा सुल्झाउने गरिएको छ ।


स्पष्ट प्रमाण नभेटिएका मुद्दामा सत्य पत्ता लगाउने एकमात्र उपाय डीएनए परीक्षण रहेको विज्ञहरू बताउँछन् । विश्वमा डीएनएका करिब १ हजार २ सय प्रकारका परीक्षण उपलब्ध छन् । यो विधिको परीक्षण सुरुमा सन् ८० दशकमा अमेरिका र बेलायतमा भएको थियो । अमेरिकी जासुसी संस्था एफबीआईले डीएनए परीक्षणकै आधारमा थुप्रै आपराधिक मामिला सुल्झाएको छ ।

 

समाचार

किशोरी हत्या प्रकरण: ‘४ दिनभित्र प्रतिवेदन’

- घनश्याम खड्का

(काठमाडौं) - किशोरी बलात्कारपछि हत्या प्रकरणको सत्यतथ्य बुझ्न गठित छानबिन समितिले ‘चार दिनभित्र’ प्रतिवेदन पेस गर्ने भएको छ । गृह मन्त्रालयका उपसचिव हरि मैनाली नेतृत्वको समितिका एक सदस्यले घटना बंग्याउन खोजिएको भन्दै राजीनामा दिएको भोलिपल्ट बाँकी चार सदस्यले प्रतिवेदन यथाशीघ्र प्रतिवेदन सरकारलाई बुझाउने निर्णय गरेका छन् ।


‘हामीले बुझ्नुपर्नेजति बुझिसकेका छौं’ मैनालीले भने, ‘अब संकलित बयान, साक्षी, सबुद र प्रमाणका आधारमा घटना विश्लेषण गरी चार दिनभित्र प्रतिवेदन बुझाउने लक्ष्य छ ।’
प्रदेश ७ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले समितिको कार्यशैली पीडितलाई न्याय दिलाउन असमर्थ रहेको भन्दै समितिबाट राजिनामा दिएका थिए । घटनाको जाँचबुझ नसकिएकाले सरकारले समितिलाई १५ म्याद थपिदिएको छ । समिति पन्ध्र दिनका लागि भदौ ७ गते गठन गरिएको थियो । म्याद सकिएलगत्त सबै सदस्य काठमाडौं आएका थिए । समितीले सोमबार निलम्बीत एसपी डिल्लीराज विष्टसँग बयान लिएको छ ।


केसीले आइतबारै प्राप्त प्रमाण र सबुदका आधारमा प्रतिवेदन बुझाउन समिति सदस्यलाई आग्रह गरेका थिए । तर प्रमाणहरू बुझ्न बाँकी भएकाले म्याद थप गर्नुपर्ने तर्क मैनालीलगायत बाँकी सदस्यले गरेपछि उनले सोमबार पत्रकार सम्मेलन गरी आफू समितिमा बसेर काम गर्न नसक्ने बताएका थिए । अपराधी उम्काउने खेल भएको र आफूलाई समेत ज्यानको धम्की आएको उनको भनाइ थियो ।


मैनालीले केसीको यो निर्णयलाई अप्रत्याशित घटनाका रुपमा लिएका छन् । ‘फिल्डमा हुन्जेल छानबिनमा राम्रै मद्दत गर्नु भएको थियो, प्रतिबेदन लेख्नेबारे भएको छलफलमा पनि कहिल्यै उहाँले फरक मत राख्नुभएको होइन’ मैनालीले भने, ‘तर अचानक पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्नुभएछ, औपचारिक रुपमा त मलाई केही थाहा छैन तर पनि पत्रपत्रिका मार्फत यसबारे अवगत छु ।’ मैनालीले आफूहरू भने दिइएको जिम्मेवारी पुरा गरेरै छाड्ने निर्णयमा पुगेको बताए ।


‘छानबिन समितीले प्रतिवेदन बुझाइनसकेकाले समय थप गर्नुको विकल्प सरकारसँग थिएन’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘१५ दिनका लागि म्याद थपिदिएका छौं ।’
समिति संयोजक मैनाली र अन्य सदस्यहरू नेपाल प्रहरीको डिआइजी रामप्रसाद श्रेष्ठ, शसस्त्रका डिआइजी बसन्त बानिया अनि राष्ट्रिय अनुसन्धानको अनुसन्धान निरीक्षक लक्ष्मण गुरुङबीच प्रतिवेदन लेखनबारे मंगलबार राति आठ बजेसम्म छलफल भएको थियो । उनीहरूले काठमाडौं आएपछि सबभन्दा पहिले कञ्चनपुरबाट प्रहरी मुख्यालयमै तानिएका डिएसपी ज्ञानराज सेटी र मुद्दा शाखाका इन्सपेक्टर एकेन्द्र खड्कासँग बयान लिएका थिए ।


अन्तिम बयान निलम्बित एसपी विष्टसँग लिइएको मैनालीले बताए । घटनाको समग्र अवस्था, त्यसलाई सम्बोधन गर्ने प्रहरीको तौरतरिका अनि गोली चलाउनुपर्नाको कारणसमतेलाई छानबिन समितिले अध्ययनको विषय बनाएको छ । समितिले प्राप्त बयान र सबुतका आधारमा प्रहरी अधिकारीहरूबाट त्रुटी हुन गएको प्रारम्भिक निश्कर्ष समेत निकालेको छ ।
घटना अनुसन्धान गर्न नेपाल प्रहरी र सिआइबीको संयुक्त टोली कञ्चनपुरमा छ । टोलीले प्राप्त सबुत प्रमाणका आधारमा दोषी पहिचान गरी मुद्दा चलाउनु पर्ने वा नपर्ने रायसहितको प्रतिवेदन जिल्ला न्यायाधीवक्ताको कार्यालयलाई दिनेछ । त्यस आधारमा मुद्दा चलाउने नचलाउने निर्णय जिल्ला न्यायाधिवक्ताले गर्नेछन् । समितिको प्रतिवेदन भने गृहमन्त्रालयले बुझ्नेछ । यसमा दोषीदेखिएका अधिकारीहरूमाथि सरकारले कारबाही वा कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस पेश गर्न सक्नेछ ।

Page 3
समाचार

जोशीलाई इजलास नदिइने

सर्वोच्चमा जोशीलाई तत्काल केही दिन कुनै इजलास नतोक्ने रणनीति बनेको छ । न्यायाधीशहरूले अनौपचारिक बैठकमा उनलाई ‘विवेक पुर्‍याएर निकास दिन’ सुझाव दिएका छन् ।
- कृष्ण ज्ञवाली

(काठमाडौं) - सर्वोच्च अदालतले वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई तत्काल इजलास नतोक्ने भएको छ । स्रोतका अनुसार इजलास नतोकिएका कारण जोशी मंगलबार हाजिर भएर फर्किएका थिए ।


प्रधानन्यायाधीश नियुक्त ओमप्रकाश मिश्रको स्वागतका लागि सोमबार जोशी सर्वोच्च अदालतमा पुगेका थिए । उनले नै स्वागत गरेर मिश्रलाई कार्यकक्षमा पुर्‍याउँदै ‘न्यायाधीशबीच कनिष्ठ/वरिष्ठ नहुने’ भन्दै आफूले मिश्रलाई स्विकारेको प्रतिक्रिया दिएका थिए । तर, यो परिस्थितिका कारण सर्वोच्चका केही न्यायाधीश भने रुष्ट भए । स्रोतले भन्यो, ‘संसदीय समितिले नै क्षमता र योग्यतामा प्रश्न उठाइसकेपछि जोशीले न्यायालयको मर्यादाका लागि पनि विवेक पुर्‍याउनुपर्छ भन्ने न्यायाधीशहरूको राय छ ।’ अदालत स्रोतले जोशी श्रीमान् ढिलो आएकाले कुनै इजलास नपारेको बताएको छ । ‘तर जोशीले अघिल्लो दिन नै सर्वोच्चमा आएर प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गरेर भोलिदेखि नियमित काममा फर्कने अभिव्यक्ति दिएका थिए,’ स्रोतले भन्यो, ‘उनीमाथि इजलास नतोकिनु अर्थपूर्ण छ । बुधबारसमेत यो क्रम जारी हुनेछ ।’


सर्वोच्च अदालतमा मंगलबारै अनौपचारिक फुलकोर्ट बसेको थियो । त्यसक्रममा अधिकांश न्यायाधीशले घुमाउरो रूपमा ‘न्यायपालिकाको साख जोगाउनका लागि विवेक पुर्‍याउन’ सुझाव दिएका थिए । ‘हामीले उहाँलाई सोझै राजीनामा दिनु भन्न मिलेन, संसदीय समितिले नै गम्भीर टिप्पणी गरेको अवस्थामा विवेकसम्मत रूपमा चल्नुहोस् भनेका हौं,’ सर्वोच्चका एक न्यायाधीशले भने, ‘उहाँले साँच्चै आफूमाथि अन्याय भएको महसुस गर्नुभएको छ भने पनि संसदीय समितिको निर्णयमाथि चुनौती दिन सक्नुपर्छ । अन्यथा समितिको आदेश लत्याउँदा बाहिर राम्रो सन्देश जाँदैन ।’


प्रधानन्यायाधीशमा अस्वीकृत भएलगत्तै बिदामा बसेका जोशी नयाँ प्रधानन्यायाधीश नियुक्त भएलगत्तै अदालत आउन थालेका हुन् । उनी संवैधानिक व्यवस्थाअनुसार सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश हुनुका साथै न्यायपरिषद् तथा न्याय सेवा आयोगको सदस्य र मेलमिलाप परिषदको अध्यक्ष छन् । न्यायपरिषद्ले न्यायाधीशहरूको नियुक्ति, सरुवा र उजुरीमाथि कारबाही गर्छ । न्यायपरिषदको वेबसाइटबाट जोशीको नाम हटेको छ भने मेलमिलाप परिषदको अध्यक्षमा उनकै नाम छ ।


जोशीलाई इजलास दिएमा राम्रो सन्देश नजाने भनी केही न्यायाधीशले प्रधानन्यायाधीश मिश्रलाई कडा प्रतिक्रियासमेत दिएका छन् । संसदीय समितिले गम्भीर टिप्पणी गरेकाले उनीसँग इजालस ‘सेयर’ गर्न नसकिने केही न्यायाधीशहरूको प्रतिक्रिया थियो । यसअघि सर्वोच्च अदालतकै न्यायाधीश खिलराज रेग्मी संयोजकत्वको समितिले कार्यक्षमता अभाव भएको भनी प्रतिवेदन दिएपछि परमानन्द झालाई इजलास नदिई हाजिर गराइएको थियो । दिवंगत न्यायाधीश रणबहादुर बमलाई पनि इजलास नदिई हाजिर मात्रै गराइएको थियो ।
तर जोशीलाई भने लामो समय हाजिरमात्रै गराएर सर्वोच्च अदालतको नियमित कामकारबाही चल्न सक्दैन । उनी संवैधानिक इजलासको समेत सदस्य भएकाले राजीनामा नदिएमा अर्को वर्षसम्म संवैधानिक इजलासको कामकारबाही प्रभावित हुनेछ । न्यायपरिषद् र न्याय सेवा आयोगले समेत यही समस्या व्यहोर्ने छन् ।


इजलास नतोकिए पनि नियमित अदालत आउने रणनीतिमा जोशी छन् । उनी निकटका कानुन व्यवसायीले राजीनामा नगर्न सल्लाह दिएको स्रोतको भनाइ छ । आगामी पुसको दोस्रो साता प्रधानन्यायाधीश मिश्रको पदावधि सकिएपछि जोशीले फेरि प्रधानन्यायाधीशमा सिफारिस हुन सक्ने आशासमेत गरेका छन् । जोशीले २०७६ साल असोज २३ गते मात्रै उमेरहदका कारण अवकाश पाउनेछन् ।

समाचार

कतारले दिन्छ ३० रियाल, कामदारको हातमा ६ रियाल

सप्लाईको माध्यमबाट कामदारलाई काममा लगाउँदा श्रमअनुसारको ज्याला पाउन वञ्चित
- होम कार्की

(दोहा, कतार) - कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याए पनि उनीहरूको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ । कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा ३० रियाल ज्याला छुट्याइएको हो । आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई कामदारका लागि कतार सरकारले यो रकम उपलब्ध गराउँछ । तर, ठेकेदार कम्पनीले भने विभिन्न कामदार सप्लाई कम्पनीबाट कामदार ल्याउँदा ज्याला घटेर ६ रियाल पुग्ने गरेको छ ।


‘मैले कतारका धेरै उच्च अधिकारीहरूसँग भेट गर्दा प्रतिघण्टा ३० रियालसम्म कामदारका लागि दिएको पाएँ । तर कामदारको हातमा भने ६ रियाल मात्रै परिरहेको स्थिति छ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कान्तिपुरलाई भने ।


कतारले सुरक्षाकर्मीका लागि १२ हजार रियाल (झन्डै ३ लाख ८४ हजार रुपैयाँ) सम्म भुक्तानी गरेको छ । ‘कतार फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृतले कतार फाउन्डेसनमा कार्यरत नेपाली सुरक्षाकर्मीलाई १२ हजार रियाल तलब दिइरहेको जानकारी दिएका थिए । तर, उनकै कार्यालयबाहिर भेटिएका नेपाली सुरक्षाकर्मीले भने मासिक १४ सय रियाल मात्रै हात पर्ने गरेको बताए,’ कोइरालाले भने ।


ती सुरक्षाकर्मी कतार फाउन्डेसन आफंैले भर्ना गरेका होइनन् । ‘हामी सप्लाई कम्पनीबाट आएका हौं । कतार फाउन्डेसनले कति तलब दिन्छ हामीलाई थाहा हुन्न । हाम्रो कम्पनीले भने १४ सय रियाल मात्रै दिन्छ,’ ती सुरक्षाकर्मीले राजदूत कोइरालालाई भनेका थिए ।


कतार सरकारले तोकेअनुसार कामदारले किन तलब पाउँदैनन् त ? ‘मुख्य कन्ट्याक्टर र सप्लाई चेनको सम्बन्धले कामदारको तलब घटदै जान्छ,’ कोइरालाले भने, ‘जति सप्लाई कम्पनी बढदै गयो, त्यति नै कामदारको ज्याला घटदै जान्छ ।’


ठेक्का लिने मुख्य कम्पनीसँग चाहिने कामदार आफैसँग हँुदैन । उसले काम गर्न चाहिने हजारांै कामदार पालेर राख्दैन । ‘मुख्य ठेकेदार कम्पनीले ठेक्का हात पर्छ । आवश्यक जनशक्ति ल्याएर कार्यस्थल खटाउने जिम्मा दोस्रो कम्पनीलाई दिन्छ । दोस्रो कम्पनीले पनि बिभिन्न कम्पनीबाट कामदार संकलन गर्छ,’ नेपाल कतार व्यवसायी संघका महासचिव सागर नेपालले भने, ‘चार/पाँचवटा एजेन्टको तह पार गरेपछि मात्रै कामदार पाउँछ ।’


कामदारको बासस्थान, ल्याउने/पठाउने दुईतर्फी हवाई टिकट, खानाको व्यवस्था, उपदान र सवारी प्रबन्ध मिलाउन निकै झन्झटिलो हुने हँुदा मुख्य ठेकेदार कम्पनीले कामदारहरू सप्लाईबाटै लिने नेपालले बताए ।


कतारी श्रम ऐनअनुसार दोस्रो कम्पनीले कामदार सप्लाई गर्नु गैरकानुनी हो । तर मुख्य ठेकेदारले दोस्रो पक्ष बनाउँदै कामदार आपूर्ति गर्छ । ‘तह बढदा कमिसन पनि बढ्छ । अनि काम गर्ने कामदारको हातमा भने न्यून तलब पर्न जान्छ,’ राजदूत कोइरालाले भने, ‘त्यसकारण कुनै कारणले दोस्रो पक्षको कम्पनी डुबेमा उसमार्फत सप्लाई भएका कम्पनी र कामदार दुवै फस्छ । यही कारण कतारमा सबैभन्दा बढी सप्लाईमा कामदार पठाउने प्रवृत्तिले कामदार समस्यामा परेका हुन् ।’


सप्लाई कम्पनीकै कारण कामदारले श्रमअनुसारको ज्याला नपाएको भन्दै अन्तर्राष्ट्रिय अधिकारकर्मीहरूले कामदारको मासिक तलब नै कतारले तोक्नुपर्ने दबाब बढाउँदै आएका छन् । कामदार पठाउने देशले कामदारको न्यूनतम तलब तोके पनि कतार सरकार आफैंले तोकेको छैन । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले कम्तीमा ७ सय ५० रियाल (२२ हजार ५ सय रुपैयाँ) भन्दा तलको करारपत्रमा प्रमाणीकरण गर्ने गरेको छैन ।


नेपालले सन् २०१३ जनवारीदेखि लागू हुने गरी नेपाली कामदारलाई न्यूनतम तलब खानासहित १२ सय रियाल (३६ हजार रुपैयाँ) दिनुपर्ने मापदण्ड तोकेको थियो । झन्डै ४० प्रतिशत कम्पनीले पनि यो मापदण्डलाई लागू गरेको छैन । दूतावासबाट अनिवार्य मागपत्र प्रमाणीकरण भएपछि नेपालको मापदण्ड पूरा नगर्ने कम्पनीलाई कामदार दिन रोकेको राजदूत कोइरालाले बताए ।


अधिकारवादीहरू कतारले प्रतिघण्टा भन्दा एकमुष्ट रूपमा हातमा पर्ने तलब दिनुपर्ने माग गर्दै आइरहेका छन् । ‘कतार श्रम बजार सुधारको दिशातर्फ उन्मुख छ । कामदारको तलब सुरक्षाका लागि उसले गरेको प्रयास सफल देखिएको छ । खुल्ला बजार भनेर कामदारको तलब नतोक्ने कार्यलाई ढिलाइ गर्नुहुन्न,’ अन्तर्राष्ट्रिय ट्ेरड युनियन महासंघकी महासचिव शरण वरोले भनिन्, ‘कामदारले श्रम गरेअनुसार पाउने ज्याला तोक्नैपर्छ ।’

समाचार

निर्दोषलाई साढे १३ वर्ष जेल

१५ वर्षअघि काठमाडौं प्रहरीले बलात्कारी पक्राउ गर्न नसक्दा डयुटीमै रहेका आफ्ना जवानलाई आरोप बकाएको थियो
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बलात्कार र हत्याको झूटो आरोपमा पक्राउ परेका एक प्रहरी जवान साढे १३ वर्षपछि निर्दोष प्रमाणित भएका छन् । गोंगबु बसपार्कमा डयुटीमै खटिएका बेला पक्राउ गरिएका प्रहरी जवान मदननारायण श्रेष्ठलाई सर्वोच्च अदालतले निर्दोष ठहर्‍याएको हो ।


२०६० कात्तिक ८ गते गोंगबुको न्यु लेसपार गेस्ट हाउसको १०६ नम्बर कोठामा ३१ वर्षीया रीता लामा मोक्तानको शव भेटिन्छ । प्रहरीले छानबिन थाल्छ । मृतकका पति कृष्ण लामाले प्रहरी जवान श्रेष्ठ र अर्का व्यक्ति विष्णु सिलवालका नाममा किटानी जाहेरी दर्ता गराउँछन् । जाहेरीमा उनीहरूले रीतालाई अघिल्लो राति गाउँले दोहोरी साँझ रेस्टुरेन्टमा लगी बियर खुवाएको र त्यहाँबाट गेस्ट हाउसमा लगी बलात्कार र हत्या गरेको दाबी गरिएको थियो ।


अनुसन्धान क्रममा गोंगबु प्रहरीले गेस्टहाउसमा काम गर्ने १२ वर्षीय सरोज लामालाई केरकार गर्‍यो । गेस्टहाउसमा रुम बुकिङ गर्ने यिनै हुन् भनी श्रेष्ठका नाममा सनाखतको कागज बनाइयो । जाहेरीमा उल्लिखित सिलवाल भने फरार थिए । प्रहरीले आफ्ना जवान श्रेष्ठलाई यातना दिई ‘म, विष्णु सिलवाल र रीता लामाले दोहोरी रेस्टुरेन्टमा बियर खाएको र पछि गेस्टहाउसमा लगेर बलात्कार गरी आफूले हत्या गरेको’ भनी लेखिएको बयानमा जबर्जस्ती सही गराउँछ ।


श्रेष्ठले जिल्ला अदालतमा ‘मलाई कुटपिट गरी बयान तथा सनाखतको कागजमा सही गराएको हो । मैले कसैलाई मारेको छैन । मलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएकाले प्रहरी उपरीक्षकउपरसमेत क्षतिपूर्ति दिलाई विभागीय कारबाही गरिपाऊँ’ भनी बयान दिन्छन् ।


प्रहरीको दाबीअनुसार गेस्टहाउस सञ्चालक वसन्तबहादुर थापाले समेत प्रहरी जवान श्रेष्ठको नाम पोलेका थिए तर अदालतमा उनले ‘मेरो गेस्टहाउसमा घटना भएको रहेछ । भोलिपल्ट मात्रै थाहा पाएँ । कसले मारेको हो, यकिनसाथ भन्न सक्दिनँ’ भनी बकपत्र गर्छन् । मुद्दाका सबै प्रक्रिया पूरा भएपछि जिल्ला अदालत काठमाडौंले २०६६ वैशाख २७ गते श्रेष्ठलाई जन्मकैदको फैसला गर्‍यो । अदालतले श्रेष्ठलाई यातना दिइएको ठहरसहित ४० हजार रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई आदेश गर्‍यो । पुनरावेदन अदालत पाटनले समेत २०६९ जेठ २ गते जिल्लाकै फैसला सदर गर्‍यो । चित्त नबुझेपछि श्रेष्ठ सर्वोच्च अदालत पुगे ।


प्रहरीले गेस्टहाउसमा बस्न नाम इन्ट्री गर्दा श्रेष्ठले रजिस्टरमा सही गरेको दाबी गरेको थियो तर विधिविज्ञान प्रयोगशालाले त्यो उनको हस्ताक्षर नभएको पुष्टि गर्‍यो । त्यसैका आधारमा सर्वोच्चले २०७४ वैशाख ११ गते जिल्ला र पुनरावेदनको फैसला त्रुटिपूर्ण रहेको ठहरसहित उल्ट्याउन आदेश दियो । श्रेष्ठ निर्दोष ठहरिए । ‘जिल्ला अदालतले उनलाई परेको पीडा र क्षतिका आधारमा ४० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको छ,’ न्यायाधीशहरू दीपककुमार कार्की र केदारप्रसाद चालिसेको इजलासले गरेको फैसलामा भनिएको छ, ‘उनी निर्दोष देखिएको, शंकाका आधारमा दिएको किटानी जाहेरी र अर्काले गरिदिएको सनाखतलाई मात्रै आधार मानेर कसुरदार ठहर गरी जन्मकैदको सजाय गर्ने जिल्ला र पुनरावेदन अदालतको फैसला नमिलेको ।’ श्रेष्ठलाई आफ्नो विरुद्धमा बयान गर्न चरम शारीरिक तथा मानसिक यातना दिएको पुष्टि भएको भन्दै विधिविज्ञान प्रयोगशालाले समेत उनको हस्ताक्षर नमिलेको भनेकाले सर्वोच्च अदालतले दोषी ठहर गर्न नमिल्ने ठम्याएको हो । साक्षी सरोज लामाले भनेकै आधारमा गरिएको बकपत्रलाई आधार मान्न नहुने भन्दै सर्वोच्चले अन्य रूपले प्रमाणित नभएसम्म सुनेको कुरा प्रमाणका रूपमा स्वीकार्य नहुने व्याख्या गर्‍यो । यो फैसला हुँदा मदननारायण १३ वर्ष ६ महिना ३ दिन जेल बसिसकेका थिए । गत वर्ष फैसला भएको मुद्दाको पूर्णपाठ सर्वोच्चले हालै तयार पारेको हो ।

समाचार

एउटा फसे सबै पछिपछि...

- आनन्द गौतम
ताप्लेजुङका गाउँमा भेडाको बथान । तस्बिर : आनन्द

 (फावाखोला, ताप्लेजुङ) - चौंरीलाई खर्क लगेर त्यत्तिकै छाडिदिए हुन्छ । यत्ति हो– जंगली जनावरले आक्रमण गर्ला कि भन्ने ध्यान मात्रै दिए पुग्छ । तर, खर्कमा चरनका लागि लगिने भेडीगोठ हेर्न भने उति सजिलो छैन । भेडा लस्करका अघि र पछि दुवैतिर गोठालो लाग्नैपर्छ ।
कारण हो, ‘अरू जनावर फसे एउटा फस्छ, एउटा भेडा फसे सबै फस्छन् ।’ किन यस्तो हुन्छ भन्नेबारे लामो समयदेखि भेडापालन गर्दै आएका रैथानेलाई पनि थाहा छैन । तमोर नदी किनारदेखि कञ्चनजंघा हिमालको फेदसम्म भेडा धपाएर हिँड्ने फुङलिङ–११, फावाखोलाका ‘अनुभवी गोठाला’ कमल विष्ट आफैं पनि अन्योलमा छन् । ‘एउटा भेडाको पछि किन सबै लाग्छन् भन्ने बुझ्न सकेको छैन,’ विष्ट भन्छन् ।


स्थानीय पाथीभारा बहुमुखी क्याम्पसमा स्नातक पढ्दै गरेका विष्टले ‘एउटा भीरमा गएर अगुवा भेडो लडेमा अरू पनि पछ्याउँदै गएर जानाजान लड्ने गरेको’ घटना आफूले थुप्रैपटक बेहोरेको सुनाए । तर, यसरी किन लर्को लाग्ने गरेका हुन् भन्नेबारे सोधीखोजी गरे पनि थाहा नपाएको सुनाए । एउटासँगै अरू पनि फस्ने भएकैले भेडापालकले ‘चोक मिसाएर’ भेडा पाल्ने गरेका छन् । एउटा बथानमा कम्तीमा तीन/चार जनाका भेडा मिसाइन्छ । मिसाएर पाले कम जनशक्तिले पुग्ने भएकाले यसो गरिएको उनीहरूको भनाइ छ । बर्खाभन्दा हिउँदमा गोठालो जान कठिन हुन्छ । बर्खामा बढीमा ५ सयसम्मको एउटा गोठ बनाइन्छ । यो गोठको रखबारी गर्न ४ देखि ६ जना गोठाला खटिएका हुन्छन् । तर, हिउँदमा त्यसलाई कम्तीमा ४ वटा गोठमा बाँड्नुपर्छ । कमलले भने, ‘एउटा गोठमा कम्तीमा दुईवटा कुकुर पनि पाल्नैपर्छ, बथानको अगाडि एक र पछाडि एक कुकुर लगाएर हिँड्नुपर्ने हुन्छ । कुकुरले अगाडि हुत्तिएर जानबाट रोक्ने र पछाडिबाट धपाउन पनि मद्दत गर्छ ।’


भेडीगोठलाई बेलुका भकारीले वरपर बारेर राख्नुपर्छ । बर्खामा धेरै घाँस हुँदा कम हिँड्ने र हिँउदमा घाँसको खोजीमा धेरै हिँड्ने भएकाले जनशक्ति धेरै चाहिने हुन्छ । हिउँदमा अप्ठ्यारो ठाउँमा हरियो घाँस देखिने र त्यसका लागि सिधै जाँदा धेरै दुर्घटना हुने अर्का भेडापालक ठाकुरसिंह विष्टले बताए । ‘यसो ओझेल परेका बेला धेरैवटा भेडा हराए भने पहिलो लडे/मरेको वा कतै फसेको नत्र जंगली जनावरले खाएको हुन्छ, एक/दुईवटा हराए कतै एकोहोरिएर गएको गयै गरेको हुन सक्छ,’ चतुरमान लिम्बूले भने, ‘अगाडि बढेको भेडा फर्काउन निकै कसरत गर्नुपर्छ, निकै गाह्रो हुन्छ ।’


फेरि भेडालाई लाग्ने रोग पनि उस्तै । ‘एउटालाई भेटे अरूलाई पनि सताइहाल्छ,’ ठाकुरसिंहले भने, ‘नौ वर्षअघि ५० भेडा तीन दिनमै फटाफट मरे ।’ स्याउलेखर्कमा पुर्‍याएका भेडामा झोक्राउने र मर्ने समस्या देखिएपछि पशु स्वास्थ्यकर्मी बोलाए पनि रोग पत्ता नलागेको उनी बताउँछन् । ज्योतिषीले ‘पशुचौपायामा क्षति नभएको भए घरपरिवारमै केही विघ्न हुन सक्थ्यो’ भनेपछि त्यसैमा चित्त बुझाएको कमलले सुनाए । जिल्ला पशु कार्यालयका अनुसार स्थानीय फावाखोलामा सबैभन्दा बढी भेडापालन हुने गरेको छ । यो पुख्र्यौली व्यवसायसमेत हो । भेडापालकले हिउँदमा नदी किनार र बर्खामा हिमालको फेदसम्मै चरनमा पुर्‍याउने गरेका छन् ।


ताप्लेजुङको फुङलिङ–११ फावाखोलाका बासिन्दा अहिले पनि भेडापालनमा क्रियाशील छन् । यहाँका भेडाहरू हिउँदमा तमोर किनारदेखि बर्खामा कञ्चनजंघा हिमालको बेसक्याम्पसम्मै पुर्‍याइन्छ । जिल्लाको फुङलिङ, सिरिजंगा, फक्तालुङ, मिक्वाखोलाका वडामा बढीजसो भेडापालन हुने गरेको छ ।

समाचार

पत्रकार बस्नेत हिरासतमै

छोटकरी
- कान्तिपुर संवाददाता

ललितपुर (कास)– प्रहरीले नियन्त्रणमा लिइएका ‘खोजतलास’ साप्ताहिकका प्रधानसम्पादकलाई ४ दिन हिरासतमा राख्न म्याद थप गरिएको छ । बस्नेतलाई प्रहरीले सोमबार समाचार साभार गरी अनलाइनमा प्रकाशित गरेको आरोपमा ठेचोस्थित घरबाट हत्कडी लगाएर नियन्त्रणमा लिएको थियो । बस्नेत पक्राउबारे प्रेस काउन्सिललाई जानकारी दिइएको छैन । बस्नेतलाई एक महिनाअघि मात्र प्रहरीले समाचार लेखेर फेसबुक र पत्रिकाको अनलाइन वेबसाइटमा सेयर गरेको भरमा नियन्त्रणमा लिएर दिनभर थुनेर छोडेका थिए । त्यतिबेला बस्नेतले ‘हरिसिद्धिको जग्गा कब्जा गर्न नेकपाको नेताको गिद्दे नजर मन्त्रीका भतिजोद्वारा मालपोतका कर्मचारीलाई सरुवा गर्ने धम्की’ शीर्षकमा समाचार लेखेका थिए । यो मुद्दामा प्रेस काउन्सिलले नै मिलापत्र गराएको थियो । बस्नेतले दृष्टि साप्ताहिकमा भदौ १९ मा ‘हरिसिद्धिको जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदकै दबाब’ समाचारलाई शीर्षक परिवर्तन गरेर आफ्नो पत्रिका र अनलाइनमा प्रकाशित गरेका थिए ।

समाचार

किर्ते गरी जग्गा बेच्ने ४ पक्राउ

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राजधानीको बूढानीलकण्ठस्थित ४० आना जग्गा किर्ते गरी बेचेको आरोपमा प्रहरीले चाबहिल मालपोत कार्यालयका शाखा अधिकृतसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा मालपोत कार्यालयका अधिकृत खगेन्द्र अर्याल, नासुत्रय रघुनाथ तिमिल्सिना, रञ्जनकुमार खरेल र जमुनाकुमारी श्रेष्ठ छन् । मालपोत कर्मचारीको मिलेमतोमा चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठ ७ ‘ग’ को कित्ता नम्बर ३२३, ३२५ र ३२९ को जग्गा किर्ते गरी श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराईको नाममा पास गरिएको थियो । उक्त जग्गा ६ करोड रुपैयाँ बराबरको हो ।

समाचार

अस्ट्रेलियामा ३ नेपालीको मृत्यु

छोटकरी
- कान्तिपुर संवाददाता

अस्ट्रेलिया (कास)– दुई साताको अवधिमा अस्ट्रेलियाको सिड्नीमा ३ नेपालीको मृत्यु भएको छ । मृत्यु भएकामा एक विद्यार्थी, एक नेपाली युवा र नेपालबाट आफन्त भेट्न सिड्नी आएकी महिला रहेको अस्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।


एनआरएन पदाधिकारीका अनुसार चार वर्षअघि विद्यार्थी भिसामा अस्ट्रेलिया आएका पोखराका सन्तोष धमला शुक्रबार बाथरुममा गएको लामो समयसम्म बाहिर ननिस्किएपछि साथीहरूले प्रहरीलाई खबर गरेका थिए । उनलाई उपचारका लागि अस्पताल लगिए पनि बचाउन सकिएन । सिड्नीकै हर्नस्बीमा बसोबास गर्ने महेन्द्र श्रेष्ठको सोमबार मृत्यु भएको छ । नर्थसोर नेप्लिज कम्युनिटीका उपाध्यक्ष सरोज पाण्डेका अनुसार राति सुतेको समयमा अचानक बिरामी परेका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुवैको शव कोरोनरको कार्यालयमा राखिएको छ ।


चितवन घर भई करिब ७ महिनाअघि सिड्नीको पेन्टहस्टमा रहेका आफन्त भेट्न आएकी कौशिला न्यौपानेको समेत करिब दुई साताअघि मृत्यु भएको दूतावासले जनाएको छ ।

समाचार

चिकित्सक तिवारीको मृत्यु

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पशु चिकित्सक डा. विष्णुबाबु तिवारीको सोमबार ओमनमा मृत्यु भएको छ ।
ओमनको रोयल दिवान कोर्टअन्तर्गत अल वस्ता जंगली जनावर संरक्षण केन्द्रमा कार्यरत तिवारीको सडक दुर्घटनामा मृत्यु गएको हो । मरुभूमिमा रहेका जनावरलाई पानी लिएर गएको
ट्यांकी पल्टिँदा उनलाई थिचेको थियो ।

समाचार

बैठक रोकिएकामा आपत्ति

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रिय जनता पार्टीका सांसद वृषेशचन्द्र लालले बोलाइसकिएको अन्तर प्रदेश परिषद् बैठक अचानक स्थगित गरिनुको कारण माग गरेका छन् । राष्ट्रिय सभा बैठकको विशेष समयमा उनले परिषद् बैठक स्थगित गरेर संघीय सरकारले प्रदेशले भोगिरहेका समस्या समाधानमा उदासीनता देखाएको आरोप लगाए ।


‘प्रदेश सञ्चालनमा धेरै प्रकारका बाधा देखिएका छन् । परिषद् बैठक धेरै पहिले बोलाइसक्नुपर्ने थियो तर बोलाइएन,’ उनले भने, ‘आइतबार बोलाइएको बैठक पनि बिनाकारण स्थगित गरियो । यो शुभ संकेत होइन ।’ केन्द्र सरकार संघीय राज्य प्रणाली सञ्चालनमा गम्भीर नदेखिएको उनको भनाइ थियो । उनले पत्रपत्रिकामा आएजस्तै मुख्यमन्त्रीहरूकै भेलाका कारण परिषद् बैठक स्थगित गरिएको भए खेदजनक हुने बताए । संघीयतामा प्रदेश सरकारबीच साझा धारणा विकास हुनु राम्रो पक्ष रहेको भन्दै उनले त्यसबाट केन्द्र सरकार बिच्किनुले आशंका जन्माएको उल्लेख गरे ।

Page 4
वाग्मती प्रदेश

सरकारी जिन्सीको लुट

कार्यालय समायोजनको मौकामा राम्राराम्रा सामानहरू गायब गर्ने र थोत्रा जिन्सी भण्डार भर्ने कार्य भइरहेको कर्मचारीले नै कर्मचारीलाई आरोप लगाइरहेका छन् ।
- राजेन्द्र मानन्धर
जिल्ला समन्वय समिति दोलखाको कार्यालय । तस्बिर : राजेन्द्र

(दोलखा)- सरकारी कार्यालयहरू खारेजी र समायोजन हुने हल्ला चल्नेबित्तिकै केही कर्मचारीहरू सरकारी जिन्सी गोलमालको ध्याउन्नमा छन् ।


समायोजनको मौकामा राम्रा–राम्रा सामानहरू गायव गर्ने र थोत्रा जिन्सी भण्डार भर्ने कार्य भइरहेको कर्मचारीले नै कर्मचारीलाई आरोप लगाइरहेका छन् । कतिपयले एक कार्यालय छाडेर अर्कोमा गएको महिनांै भइसक्दा पनि सरकारी सम्पत्ति फर्काउन आनाकानी गरिरहेका छन् । महत्त्वपूर्ण सरकारी जिन्सी एकबाट अर्कोमा हस्तान्तरण हुँदा पुरानो उखान ‘उल्फाको धन फुपूको सराद्दे’ जस्तै भइरहेकोमा चिन्ता गर्न थालिएको छ ।


जिल्ला सदरमुकामबाट करिब डेढ दर्जन सरकारी कार्यालय खारेजी, समायोजन वा भूमिका बदलेर पुनर्संरचनाको चरणमा छन् । काम, स्वभाव र जिम्मेवारी बदलेर क्रियाशील हुने कार्यालय संयन्त्रले नै बढीजसो सरकारी सम्पत्तिमा र्‍याल चुहाउने गरेको जनप्रतिनिधिको आरोप छ । समायोजनका नाममा कतिपयले कागजका पोका मात्रै बुझाएका छन् । कतिपयले समायोजन हुनै आनाकानी गरिरहेको गाउँपालिका महांसघ ३ नम्बर प्रदेश प्रमुख तथा तामाकोसी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेल बताउँछन् ।


हालै डिभिजन सहकारी कार्यालयले भीमेश्वर नगरपालिकालाई सामान हस्तान्तरण गर्दा खर्च हुने र नहुने जिन्सी किताब नबुझाएको गुनासो छ । त्यसमा कार्यालयका सामानका गन्ती र अवस्थाका बारेमा खुलाइएको हुन्छ । तत्कालीन डिभिजन सहकारीका प्रमुख टोपलाल अर्यालय चम्चादेखि चिया छान्ने जालीसमेतका विवरण उतारेर पाँच वटा निकायमा प्रमाणित प्रति बुझाएको बताए । उनले उक्त जिन्सी पुस्तक भने मलेनिकामा लेखा परीक्षणका लागि ल्याइएको हुन सक्ने जानकारी दिए । समायोजन र कार्यालयको जिम्मेवारी हेरफेर हुँदा कर्मचारीको सबैभन्दा बढी मोह ल्यापटपमा गएको छ ।


जिल्लामा एक हजार जति सरकारी कम्प्युटर जति भएको अनुमान छ । अध्यक्ष पोखरेलले त्यस्ता सामान कति स्थानीय तहमा बुझाइन्छ हेर्न बाँकी रहेको बताए । पुराना र थोत्रा जति बुझाइने र नयाँ जति गायव पार्ने चलखेललाई रोक्नुपर्ने उनले बताए ।


जिल्ला विकास समिति हुँदै जिल्ला समन्वय समितिमा परिणत भएको कार्यालयमा अथाह जिन्सी छन् । जिल्ला विकास समिति रहँदा बर्सेनि ल्यापटप र डेस्कटप कम्प्युटर किनिन्थे । मल्टिमिडिया प्रोजेक्टर, क्यामेरा र प्रिन्टरहरू जोडिन्थे । विभिन्न दाताहरूले दिएका सामान पनि बग्रेल्ती छन् । दर्जनांै बाइक, केही गाडीहरू जिविसका सम्पत्ति हुन् ।


अथाह चलअचल सम्पत्तिको धनी उक्त कार्यालयमा अहिले सीमित चार/पाँच जना कर्मचारी मात्रै छन् । धेरैजसो कर्मचारीहरू स्थानीय तहमा गएको महिनौं भइसक्यो । उनीहरूले बाइक, क्यामेरा, ल्यापटलगायत समानहरू साथै राखेको जानकारी कर्मचारीहरूबाटै पाइएको छ । जिन्सीबाट सामान बुझेको देखिएकालाई बरबुझारथ गर्न लिखित र मौखिक ताकेता गरिरहेको जिल्ला समन्वय अधिकारी तुलसी गौतम बताउँछन् ।


जिल्ला समन्वय समितिको जिन्सी खातामा कर्मचारीहरूले ल्यापटप, क्यामेरा र मोटरसाइकल बुझेको अभिलेख छ । कार्यालयबाट बिदावारी भइसक्दा पनि उक्त कार्यालयले ती सामाग्री फर्काउन नसकेको समन्वय अधिकारी गौतमले स्विकारे । सामग्री फर्केपछि औपचारिक कार्यक्रम गरेर स्थानीय तहमा नियम कानुनअनुसार बुझाइने उनले प्रतिबद्धता गरे । जिल्ला कृषि विकास कार्यालयको अस्तित्व पनि समाप्त भएको छ । उक्त कार्यालयमा पनि उस्तै रोग भएको कर्मचारीबाटै खुलेको छ । केही कर्मचारीहरू स्थानीय तहमा गइसक्दा पनि मोटरसाइकल फर्काएका छैनन् । धेरै कर्मचारी र अथाह बजेट भएको उक्त कार्यालय ‘सद्दे आफूलाई बिग्रिएको सरकारलाई’ राखिदिने रस्साकस्सी चलिरहेको छ ।


प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकका अनुसार कार्यालय समायोजनको क्रममा जिल्ला प्रशासन कार्यालयलाई जानकारी हँुदैन तर सरकारी सामान दुरुपयोग भएमा कारबाहीको कदम चाल्न सकिन्छ । स्थानीय तहले जिन्सी पुस्तक र पछिल्लो लेखा प्रतिवेदनअनुसार स्पेसिफिकेसनका आधारमा सामानहरू बुझ्न र गडबडी भएको पाइएमा जानकारी दिन प्रजिअ पाठकले अनुरोध गरे ।

वाग्मती प्रदेश

नारायणगढ–मुग्लिन सडक बन्द

‘हामी राति १२ बजे यहाँ आएका थियौं । पहिरो र जाम छ भनेर अगाडि जान सकेनौं ।’
- रमेशकुमार पौडेल
नारायणगढ–मुग्लिन सडकको चार किलोमा मंगलबार गएको पहिरोका कारण अवरुद्ध बाटो । तस्बिर : रमेशकुमार

 (चितवन) - चितवन– एक महिनाभन्दा बढी समय पहिरोले दु:ख नदिएको नारायणगढ– मुग्लिन सडक मंगलबार दिनभर ठप्प भयो । मुग्लिनदेखि पश्चिम नारायणगढतर्फ चार किलोमा मध्यरातमा खसेको पहिरो सफा गर्न दिनभर पनि सकिएन । कालीखोलामा मात्रै नभएर गाईघाट, घुमाउने, जलविरेमा पनि पहिरो गएको थियो । ती अलि साना पहिरा थिए । पछिल्लो समय झरी पर्दासमेत नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्न छाडेको थियो ।


पूर्वी चितवन खोलेसिमलकी गीता घिमिरे तीजको दर खान माइत चरौंदी जानका लागि मंगलबार बिहान ६ बजे गाडी चढिन् । सोही ठाउँबाट शर्मिला सिग्देल र उनकी बहिनी सावित्री सुवेदी पनि माइत धादिङ हुग्दी खोला जान बस चढेका थिए । उनीहरू चढेको बस दिनभर १७ किलो क्षेत्रमा रोकियो । ना ४ ख ९८१८ नम्बरको बस चढेका थिए उनीहरूले । बसधनी गंगाराम लामिछानेले ९५ प्रतिशत यात्रु तीजका चेलीबेटी रहेको बताए ।


कलैयाबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८७६ नम्बरको बस रामनगरमा रोकिएको थियो । ‘हामी राति १२ बजे यहाँ आएका थियौं । पहिरो र जाम छ भनेर अगाडि जान सकेनौं,’ बसका यात्रु लक्ष्मी गुप्ताले भने । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार चार किलोमा राति १ बजे पहिरो खसेको थियो । अन्यत्र त्योभन्दा पहिले नै साना पहिरोहरू खसेका कारण बाटो बन्द भएको थियो । आयोजनाका अधिकारीहरू सोमबार साँझबाट परेको पानीले पहिरो खसेको बताउँछन् । ‘यो पटक निक्कै ठूलो पानी परेका कारण पहिरो पनि ठूलै आएको हो,’ नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले भने । सडकभरि गिट्टीजस्ता चट्टानका टुक्रा झरेका कारण ठूलो पानी परेर पहिरो गएको अनुमान गरेको उनले बताए ।


‘चार किलोमा मात्रै सय मिटरभन्दा माथिबाट पहिरो झरेको छ । यो नयाँ पहिरो त हैन तर ठूलो पानीले गर्दा माथि माथिबाट पहिरो खस्यो,’ आयोजना प्रमुख बिसुरालले भने । नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्डअनुसारको दुई लेनको फराकिलो सडक बनाउने काम भर्खर सकिएको छ । पहिला साढे पाँच मिटर चौडा सडकलाई अहिले ९ देखि ११ मिटरसम्म फराकिलो बनाएको आयोजान प्रमुख बिसुरालले बताए ।


सडक फराकिलो बनाउन ठाउँठाउँमा पहाड काट्नुपरेको छ । पहाड काटेको ठाउँमा पहिरो गएर दु:ख दिन्छ । अघिल्लो वर्ष २९ ठाउँमा पहिरो गएर समस्या बनाएको सूचना अधिकारी खनालले बताए । गत साउनमा अहिलेसम्मकै सबैभन्दा लामो समय पहिरोका कारण लगातार ४३ घण्टा बाटो बन्द भएको थियो । गएको वैशाखदेखि १४ करोड रुपैयाँको लागतमा पहिरो नियन्त्रणको काम भएको थियो । त्यो काम सकिए पनि ६ ठाउँमा अहिले पनि पहिरोले वर्षायाममा लागतारजसो दु:ख दिएको छ । यसअघि असार २५ गते टोपेखोलामा पहिरो जाँदा लगातार १३ घण्टासम्म बाटो बन्द भएको थियो । मंगलबार दिनभर बन्द भएको बाटो चार किलोको पहिरो सफा गर्न नसकेका कारण साँझ अबेलासम्म पनि खुल्न सकेको थिएन । यो वर्ष लामो समय बाटो बन्द गर्ने पहिरो यही नै हुनेछ ।


‘फराकिलो बनाउन पहाड काटेको ठाउँको चट्टान स्थिर भएर प्राकृतिक स्लोप नबनाउँदासम्म पहिरो जान्छ । २९ पहिरोमध्ये यो पटक धेरै ठाउँको समस्या निराकरण भयो । यो वर्ष पनि सक्रिय पहिरोलाई रोक्न वर्षायामपछि अध्ययन गरेर नियन्त्रण योजना बनाइनेछ,’ आयोजना प्रमुख बिसुरालले भने । यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो । राजधानीको जीवन रेखा (लाइफ लाइन) समेत भनिने यो बाटो हुँदै दैनिक १० हजार गाडी आवतजावत गर्छन् ।

वाग्मती प्रदेश

भीमफेदी कारागारमा सहकारी खोलिँदै

- प्रताप विष्ट
क्षेत्रीय कारागार भीमफेदीको मंगलबार निरीक्षण गर्दै प्रदेश—३ का मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल लगायत । तस्बिर : प्रताप

 (भीमफेदी, मकवानपुर)- बिचौलियाको अन्त्य गर्न क्षेत्रीय कारागार भीमफेदीमा सहकारी स्थापना गर्ने भएको छ । क्षेत्रीय कारागार भीमफेदीमा रहेका कैदीबन्दीलाई सहकारीमा आवद्ध गराएर सहकारीमार्फत उपभोग्य वस्तुलगायत सामान खरिद गरेर न्यून मुनाफा राखेर कैदीबन्दीलाई सरल र सस्तो रूपमा उपलब्ध गराउने भएको छ ।


बिचौलियाका कारण भीमफेदी कारागारभित्रका पसलमा राखिएका मालसामानको मूल्य हेटांैडा बजारको भन्दा दोब्बर छ । ‘ढुवानी भाडा, लगानीलगायत गरेर मालसामान यहाँ महँगोमा भित्रिने गर्छ जसले गर्दा स्थानीय बजारको भन्दा दोब्बर महँगो हुन्छ,’ भीमफेदी जेलका ‘ख’ ब्लक चौकीदार दीपेन्द्र राईले भने, ‘व्यापारीले यहाँ महँगोमा मालसामान बिक्री गरेका छन् ।’ व्यापारीले मुनाफा धेरै हुने भएकाले कारागारवरिपरि बस्तीमा उत्पादित तरकारीलगायत खाद्यवस्तु बन्दीलाई प्रयोग गर्न दिँदैनन् । ‘बन्दीले महँगो र बासी वस्तु उपभोग गर्नुपर्ने भएकाले जेलभित्र सहकारी स्थापना गर्ने र त्यो सहकारीले बाहिरको सहकारीमार्फत चामलबाहेक अन्य उपभोग्य वस्तुहरू खरिद गर्ने व्यवस्था मिलाउने छन्,’ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘जेलभित्र सहकारी स्थापना गरेपछि बिचौलियाको अन्त्य र कैदीबन्दीहरू शोषणबाट पनि मुक्त हुनेछन् ।’


हेटांैडबाट २३ किमिको दूरीमा रहेको क्षेत्रीय कारागार भीमफेदीको मंगलबार निरीक्षण गर्न पुगेका मुख्यमन्त्री पौडेलले जेलभित्र विद्यालय स्थापना गर्ने र स्कुलको निम्ति आवश्यक पर्ने शिक्षकको खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी कैदीबन्दीलाई गराएका थिए । जेलका कैदीबन्दीलाई उत्पादनसँग जोड्न प्रदेश सरकारले छिट्टै नै कार्यविधि तयार पार्ने पनि आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले बताए । जेलहरूलाई संघीय सरकारले प्रदेश मातहतमा राख्ने नीति बनाउन बनाइरहेको छ । ‘जेलहरू छिट्टै नै प्रदेश मातहतमा आउँदै छन्,’ मन्त्री जमरकट्टेलले भने ।


भीमफेदी कारागारमा शौचालय र चर्पीको व्यवस्था राम्रो नभएकाले वातावरण दुर्गन्धित भएको भीमफेदी गाउँपालिका हिदम लामाले मुख्यमन्त्री पौडेल र आन्तरिक मामिला मन्त्री जमरकट्टेलसँग राखेका थिए । कारागारको दुवै ब्लकको सुत्ने कोठा, भान्सा, पुस्तकालय लगायत भित्र पसेर मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला मन्त्री जमरकट्टेल, जिल्ला समन्वय समितिका प्रमुुख रघुनाथ खुलाल, प्रजिअ अस्मान तामाङ, डीआईजी दीपक थापा, भीमफेदी गापाका अध्यक्ष हिदम लामा, उपप्रमुख पार्वती रानाले निरीक्षण गरे । भीमफेदी कारागारका २ वटा ब्लकमा पुरुष बन्दी ८ सय ८४ जना छन् । जेलका नायब सुब्बा केदारप्रसाद सापकोटाका अनुसार उक्त जेलमा २० वर्षदेखि ८५ वर्षसम्मका बन्दीकैदी छन् । १ सय २५ जना कैदीबन्दी उत्पादनसँग जोडिएका छन् । जेलभित्र गलैँचा बुन्ने, मुढा बनाउने र टोपी बुन्ने काममा बन्दीहरू संलग्न छन् । उक्त कारागारमा सबैभन्दा बढी ३ सय ६९ जना लागुऔषध मुद्दाका कैदीबन्दी छन् ।


जेलमा औषधोपचारका लागि डाक्टरको दरबन्दी भए पनि स्वास्थ्यकर्मी छैनन् । जेलभित्र प्राथमिक उपचार केन्द्र छ तर स्वास्थ्यकर्मी छैनन् । कर्तव्य ज्यान मुद्दामा जेल परेका सर्लाहीका दिनेश राउत प्राथमिक उपचार केन्द्र सञ्चालन गरिरहेका छन् । उनीहरूले अहिले सरकारबाट दैनिक साढे सात ग्राम चामल र ६० रुपैयाँ पाउँछन् । ६/६ महिनामा मौसमअनुसारको जेल प्रशासनले कपडा उपलब्ध छ ।

 

दसैंलाई ६० केजी मासु सहयोग
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले क्षेत्रीय कारागार भीमफेदीका कैदी बन्दीलाई दसैंमा एक छाक मासु उपलब्ध गराउने भएका छन् ।
कारागारमा मंगलबार निरीक्षण गर्दै पौडेलले बन्दीहरूलाई दसैंमा खान ६० केजी मासु उपलब्ध गराउने कैदीबन्दीलाई बताए । भीमफेदी कारागारमा ८ सय ८४ कैदीबन्दी छन् ।

Page 5
उपत्यका

अवैध खानी सञ्चालन: व्यवसायीकै पक्षमा कार्यविधि

संसदको प्राकृतिक स्रोत साधन समितिले स्थलगत अध्ययनपछि नल्लु क्षेत्रका ढुंगा खानी बन्द गर्नुपर्ने जनाए पनि हालसम्म सञ्चालनमा छन् ।
- प्रशान्त माली
गोदावरी नगरपालिका–७ देवीचौरमा सञ्चालित अवैध ढुंगाखानी ।

 (ललितपुर) - लामो समयदेखि विवादमा रहेका ललितपुरको लेले, नल्लु क्षेत्रका खानी मापदण्डविपरीत भए पनि नियमित सञ्चालनमा छन् । २०६९ मा लेलेका १२ वर्षीय अर्जुन नगरकोटीको नल्लुमा सञ्चालित खानीको ढुंगाले लागेर मृत्यु भयो । मृतकका परिवारले ६ वर्ष बितिसक्दा पनि क्षतिपूर्ति भने पाएका छैनन् । २०७१ मा लेले महादेव खोलामा सञ्चालित खानीमा पुरिएर ४ को ज्यान गयो । २०७५ मा टीकाभैरव क्षेत्रमा सञ्चालित ढुंगा खानीमा मकवानपुरका ३७ वर्षीय टिपर चालक देव मुक्तान, एस्काभेटर चालक २३ वर्षीय सन्तोष दाहाल र ३७ वर्षीय यूके लामा गम्भीर घाइते भए । खानीमा दुर्घटनाका घटना बढ्दै गइरहेका छन् ।


संसद्को प्राकृतिक स्रोत/साधन समितिले ६ वर्षअघि स्थलगत अध्ययनपछि नल्लु क्षेत्रका ढुंगा खानी बन्द गर्न र नख्खु खोलाको बहाव क्षेत्रमा भएको अतिक्रमण रोक्नुपर्ने निष्कर्ष निकाल्यो । सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालय, वन तथा भूसंरक्षण, उद्योग र वातावरण मन्त्रालयलाई निर्देशन दिइएको थियो । त्यतिबेला समितिले खानी सञ्चालन गर्न दिँदा जलउत्पन्न प्रकोप तथा जल प्रदूषण बढ्ने, पानीको स्रोत सुक्ने उल्लेख गरेको थियो । समितिले उक्त क्षेत्र भौगोलिक रूपमा पनि खानी सञ्चालन गर्न उपयुक्त नदेखिएको निष्कर्ष निकालेको थियो । समितिले एक वर्षभित्र त्यहाँ सञ्चालित उद्योगको वैकल्पिक व्यवस्था गर्न प्राविधिक अध्ययन गरी सिफारिसका आधारमा मात्र ढुंगा खानी सञ्चालनको इजाजत दिन निर्देशन दिएको थियो । तर, कार्यान्वयन भने हालसम्म भएको छैन ।


गोदावरी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि खानी क्षेत्र छुटयाई सञ्चालन अनुमति दिने प्रतिबद्धता जनाए । २०७१ मा तत्कालीन जिल्ला विकास समितिमा बसेको सर्वदलीय बैठकले पनि खानी क्षेत्र घोषणा गरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, हालसम्म कार्यान्वयन भएको छैन । यसरी कानुनी बन्देज हुँदाहँुदै पनि गोदावरीका जनप्रतिनिधि र कर्मचारीले खानी क्षेत्र पहिचान गर्नुको साटो खानी सञ्चालन कार्यविधि २०७५ ल्याएको छ । जुन प्रदेश सरकारले पनि बनाइरहेको छ ।


प्रदेश ३ सरकारको उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयका अनुसार खानी सञ्चालन कार्यविधि स्थानीय तहपिच्छे फरक बन्दा उपयुक्त नहुने जनाइसकेको छ । मन्त्रालयका प्रवक्ता गोपालप्रसाद गौतम भन्छन्, ‘बरु एउटा प्रदेशको नियमावली अर्को प्रदेशमा नमिल्न सक्छ । खानी कार्यविधि, नियमावली र निर्देशिका स्थानीय तहले बनाउँदा सर्वसाधारण जनता मर्कामा पर्न सक्छन् ।’ उनले स्थानीय तहले प्रदेश र केन्द्र सरकारले बनाएको नियम मात्र कार्यान्वयन गर्ने बताए । ‘प्रदेश सरकारले तयार पारेको खानीसम्बन्धी मस्यौदा अन्तिम चरणमा छ,’ उनले भने, ‘मन्त्रिपरिषद्मा पठाउने अन्तिम तयारी भइसकेको छ ।’


गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीले खानीसम्बन्धी कार्यविधि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा अनुसार बनाइएको बताइन् । ‘स्थानीय तहलाई कार्यविधि बनाउने अधिकार ऐनले दिएको छ,’ उनको तर्क छ । गोदावरीले बनाएको कार्यविधि व्यवसायीमुखी भएको गुनासो छ । खानी तथा खनिज पदार्थ नियमावली २०५६ को परिच्छेद २ दफा ५ मा सामान्य खनिज पदार्थको अनुमतिपत्र लिन चाहने व्यक्तिले खनिज गर्न चाहेको कुल क्षेत्रका लागि प्रतिवर्ग किलोमिटर एक लाख रुपैयाँ र उत्खनन लागि खनिज गर्न चाहेको कुल क्षेत्रका लागि प्रतिवर्गकिलोमिटर १० लाख रुपैयाँको आर्थिक हैसियत भएको हुनुपर्ने व्यवस्था छ । तर, गोदावरीले बनाएको कार्यविधिमा आर्थिक र प्राविधिक हैसियत भएको हुनुपर्ने भन्ने मात्र उल्लेख छ ।


त्यस्तै नियमावली २०५६ को दफा १७ मा अति साना, साना, मझौला र ठूलास्तरका खनिज पदार्थका लागि क्रमश: १०, १५, २० र ३० वर्षको अवधिभित्र उत्खनन कार्य सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लेले, नल्लु क्षेत्रमा सञ्चालित अति साना र सानास्तरका खानीको हकमा अवधि सकिइसकेको छ । यसबारे कार्यविधिमा भने उल्लेख छैन ।


कार्यविधिमा खनिज पदार्थ भण्डार गर्ने स्थलमा परिमाणको मापन गर्ने यन्त्र राख्नुपर्ने, भूसतहको सिमाना बाहिर हुने गरी उत्खनन नगर्ने, दुई वा दुईभन्दा बढी अनुमतिपत्रमा उल्लिखित क्षेत्रको सिमाना जोडिएमा २५ मिटर छोडेर खानी उत्खनन गर्नेजस्ता व्यवस्था हटाइएको छ । उत्खनन गर्दा खोलेको टोपा, टनेल खाल्टामा दुर्घटना नहुने गरी सुरक्षाको व्यवस्था गर्ने, दुर्घटना भएमा, व्यक्तिको मृत्यु भएमा, कसैको धनसम्पत्ति हानि नोक्सानी हुन गएमा वा हुन सक्ने सम्भावना देखिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र विभागमा तुरुन्त सूचना दिने, आफ्नै खर्चमा खनिज क्षेत्रको सिमाना कायम गर्नेजस्ता व्यवस्था पनि कार्यविधिमा हटाइएको छ ।


त्यस्तै वन तथा वातावरण मन्त्रालयले विकास आयोजना कार्यान्वयन गर्नुपूर्व त्यस्ता आयोजना निर्माण वा कार्यान्वयनबाट भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणमा पर्न सक्ने प्रभावबारे मूल्यांकन गरेर प्रतिकूल प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्न वातावरणीय प्रभाव मूल्यांकन गरिन्छ । कार्यविधिको परिच्छेद–४ मा वातावरणीय प्रभाव प्रतिवेदन भनी व्यवस्था गरिएको छ । तर, यसमा नगरपालिकामा छुट्टै वातावरण शाखा रहने र शाखाले फिल्डमा उपस्थित भई मुचुल्का तयार गरेर सँधियार, वडाको प्रतिनिधिसहित सुनुवाइ गरेर वातावरणीय प्रभाव प्रतिवेदन तयार पारिने उल्लेख छ ।


क्रसर उद्योगको हकमा नगरपालिका क्षेत्रमा स्थापना गर्न नपाइने, बफर जोनमा वृक्षरोपण, राजमार्ग र खोला किनारबाट ५/५ सय मिटर, शिक्षण, स्वास्थ्य संस्था र धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका स्थानबाट २/२ किमि टाढा हुनुपर्ने कानुनी प्रावधान छ । वन, निकुञ्ज, आरक्षण र घनाबस्तीबाट २/२ किमि टाढा हुनुपर्ने कानुनी व्यवस्था छ । तर, गोदावरीले यसलाई बेवास्ता गरेको छ । खानी विभागका पूर्वउपमहानिर्देशक उत्तमबोल श्रेष्ठ भन्छन्, ‘गोदावरीले खरीढुंगा उत्खनन गर्न स्वीकृति दिने भएको छ । तर, खरीढुंगा उत्खनन गर्दा आँखाले नदेख्ने धूलो उड्ने र यसले स्वास्थ्यमा असर पर्ने कुरालाई ख्याल गरिएको छैन ।’


उनका अनुसार यो धूलो निकै हलुका हुने भएकाले जुन जमिनमा आउँदैन । ‘हावा उडिरहन्छ,’ उनले भने, ‘यो खाएमा डाक्टरले समेत पत्ता लगाउन नसक्ने छातीमा रोग लाग्छ । खनिज पदार्थ उत्खनन गर्दा आर्थिक सबलको पक्षलाई मात्र ध्यानमा दिएर हुँदैन ।’ गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनीले खानीमा मापदण्ड खुकुलो बनाएको नभई राजस्वमा बढाएको दाबी गरे । ‘खानी सञ्चालन गर्न खानी विभाग, घरेलु र नगरपालिकाको सिफारिस अनिवार्य गरेका छौं,’ उनले भने ।

उपत्यका

प्रभावकारी भएन भर्ना अभियान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सरकारले सञ्चालन गरेको दोस्रो चरणको विशेष भर्ना अभियान प्रभावकारी हुन सकेको छैन । गत वैशाखमा सञ्चालित अभियानमा ६० हजार बालबालिका छुटेको भन्दै प्रधानमन्त्री कार्यालयले दोस्रो कार्यक्रम घोषणा गरेको थियो ।


७ सय ५३ मध्ये अहिलेसम्म १७ वटा स्थानीय तहका बालबालिका मात्रै पूर्ण रूपमा विद्यालय भर्ना भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ । जसअनुसार पाँचथरका ५, धनकुटाका ४, प्यूठान र बर्दियाका २/२ र कपिलवस्तु, सप्तरी, इलाम र बर्दिया जिल्लाका एक/एक स्थानीय तह छन् । अन्य स्थानीय तहका आधारभूत तह (कक्षा १–८) अध्ययन गर्ने ५ देखि १२ वर्ष उमेर समूहका बालबालिका अझै विद्यालयबाहिर रहेको केन्द्रको तथ्यांकले नै पुष्टि गर्छ । सबै स्थानीय तहलाई उक्त घोषणा गर्न आग्रह गरिएको थियो तर ७ सय ३६ स्थानीय तहले त्यसो गर्न सकेका छैनन् ।


केन्द्रका महानिर्देशक बाबुराम पौडेल भने भदौ मसान्तसम्म अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा गर्ने स्थानीय तहको संख्या बढ्ने दाबी गर्छन् । ‘जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई परिचालन गरेर अभियान चलाएका हौं,’ उनले भने, ‘अभियान प्रभावकारी बनेको छ ।’ प्रधानमन्त्री केपी ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललगायत मन्त्री र सरकारी अधिकारीले नै विद्यालय जान नसकेका बालबालिकालाई भर्ना गराएर यो वर्षको अभियान शुभारम्भ गरेका थिए ।
दोस्रो अभियानको नेतृत्व केन्द्रसँगै प्रदेश र स्थानीय सरकारले लिने निर्णय भएको थियो । स्थानीय तहका वडालाई बालबालिका भर्ना गर्न मन्त्रिपरिषद् बैठकले सर्कुलर गरे पनि कार्यान्वयन हुन नसकेको हो ।


विद्यालय तहका करिब ३ लाख बालबालिकालाई भर्ना अभियानमा समेट्न शैक्षिक सत्रको सुरुमै अभियान कार्यक्रम सुरु गरिएको थियो । २०६१ सालदेखि नै विद्यार्थी भर्ना अभियान चल्दै आएको छ । १३ वर्षदेखि अभियान चलाउँदा पनि शतप्रतिशत बालबालिका विद्यालय पुग्न सकेका छैनन् । माथिल्लो कक्षामा भर्नादर क्रमश: घट्दो छ ।

उपत्यका

बुबाबाटै बलात्कृत

- कान्तिपुर संवाददाता

(ललितपुर) - वनको बीचमा सुनसान ठाउँ । कोडु खोलाबाट पूर्वपट्टि २ सय मिटर ठाडो उकालो चढेपछि एकतले दुइटा घर छन् । दक्षिणपश्चिम क्षेत्रको घरमा छोरा–बुहारी सुत्थे । अर्कोमा आमा छोरी सुत्थिन् । भूकम्पले २ तले घर धराप बनेपछि एक तलामा बनाइएको घरमा साताअघि कसैले नसोचेको घटना भयो । आफैंले जन्माएकी १० वर्षीया छोरीलाई बाबुले बलात्कार गर्‍यो भन्दा पत्याउन गाह्रै पर्ला । तर, यही वास्तविकतापछि ३९ वर्षीय बुबालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानअगाडि बढाएको छ ।


बलात्कार घटनाको विरोधमा सोमबार बडिखेलस्थित पथप्रदर्शक माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय महिला समूह र प्रहरी मिलेर जनचेतनामूलक र्‍याली आयोजना गर्‍यो । र्‍यालीमा दोषीलाई सजाय दिन माग, बालबालिकासँग मानवीय व्यवहार गर्न, बालश्रम तथा बाल शोषण अन्त्य, महिला हिंसामुक्त समाज निर्माण गर्न माग गरियो ।


बलात्कृत बालिकाकी हजुरआमाका अनुसार घटना भएको दिन अर्थात् भदौ १८ गते सोमबार घरका सबै सदस्य खाना खाएर सुतिसकेका थिए । छोरा (बलात्कार गर्ने बुवा) ले जाँडरक्सी खाएर राति घर आए । उनले भनिन्, ‘जाँडरक्सी खाएपछि जथाभावी बोल्ने गथ्र्यो । कहिलेकाही कुटपिटसमेत गर्थो । तर, नातिनीलाई त्यस्तो गर्ला भनेर सोचेकी थिइनँ ।’
परिवारका अनुसार बाबुसँग बडिखेलस्थित ललित घुम्ती सडक नजिककै १४ आना जग्गा बेच्न बैना लिएको एक लाख रुपैयाँ थियो । उनका २ श्रीमतीतर्फ एक/एक छोरी छन् । श्रीमान्को बानीव्यहोराले गर्दा कान्छी श्रीमती अर्कैसँग हिँडिन् । जेठी माइती गएकी थिइन् । भावुक मुद्रामा रहेकी उनले सुनाइन्, ‘घरका कोही नभएको मौका छोपेर त्यस दिन कान्छी श्रीमतीपट्टिकी छोरीलाई पानी तताउन लगाउनुपर्छ भनी बोलाउन आएका थिए । नातिनी जान नमानेपछि जेठी श्रीमतीपट्टिकी छोरी भएको ठाउँमा गएका थिए ।’ ‘डेढ दुई घण्टापछि नातिनी रुँदै घर आइन् । पिसाबमा रगत मिसिएको थियो,’ उनले सुनाइन्, ‘छोराको पाप सहन नसकेर भोलिपल्ट प्रहरीकोमा उजुरी दिएँ ।’ बलात्कृत बालिकामा तर्सने, डराउने बर्बराउनेलगायतका समस्या देखापरेका छन् । उनी राम्रोसँग हिँड्न सक्दिनन् । उनलाई अहिले महिला आयोगलगायतका संघसंस्थाका प्रतिनिधि आएर आश्रयका लागि लगेका छन् ।
मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद १८ दफा २१९ मा कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्ष वर्षभन्दा कम उमेरका कुनै बालिकालाई करणी गर्न नहुने उल्लेख छ । यदि उक्त दफा उल्लंघन गरेको खण्डमा १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ देखि २० वर्ष, १० देखि १४ वर्ष उमेरकी भए १४ देखि १६ वर्ष कैद सजाय हुने व्यवस्था छ ।


महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई म्याद थप गरेर अनुसन्धान भइरहेको बताए । ‘बयान भइसकेको छ । मेडिकल रिपोर्ट आजभोलिमा आउँछ,’ उनले भने, ‘त्यसपछि सरकारी वकिलसमक्ष मुद्दा दायर गर्न पेस गरिनेछ ।’


ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष मुकुन्द पहरी दोषीलाई कारबाही गर्नुपर्ने बताउँछन् । भन्छन्, ‘समाज विकास गर्न चेतनशील समुदायको आवश्यक पर्छ । कारबाहीले एक हदसम्म सिर्जना हुन्छ,’ उनले भने । स्थानीय विद्यालयमा कक्षामा ४ मा अध्ययरत उनी पढाइमा राम्रै थिइन् । अध्ययन गर्ने विद्यालयका प्रधानाध्यापकले बालिकाको परिवारलाई रकम संकलन गरेर आर्थिक सहयोग गर्ने तयारीमा रहेको बताइन् ।


जिल्लामा साउनयता मात्रै ७ बलात्कारका घटना दर्ता भएका छन् । महानगरीय प्रहरी परिसर जावलाखेलका अनुसार तीमध्ये ६ घटनामा आफन्त तथा चिनजानका व्यक्ति संलग्न छन् । चैतमा प्युटारमा काका पर्ने कृष्ण बम्जनले ७ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । जेठमा सानेपामा एक लिम्बु थरका व्यक्तिले १३ वर्षे बालिकालाई बलात्कार गरे । गत वर्ष धापाखेलका ४१ वर्षीय मामाले सातदोबाटो बस्ने १५ वर्षकी भान्जीलाई बलात्कार गरे । ती अभियुक्तलाई जिल्ला अदालतको आदेशअनुसार नख्खु कारागार पठाइएको छ । पछिल्लो समय बलात्कारका घटनामा हजुरबुबा उमेरका पनि संलग्न देखिएका छन् । गत वर्ष ललितपुर महानगरपालिकाको सानो खोकनामा १० वर्षकी नातिनीलाई ८४ वर्षका टेकबहादुर बस्नेतले बलात्कार गरेको थिए ।

उपत्यका

इन्द्रजात्राको लिङ्गो काट्न हिँडे मानन्धर टोली

- कान्तिपुर संवाददाता
इन्द्रजात्राको लिङ्गो काट्न जानुअघि मंगलबार हनुमानढोका परिसरमा प्रसाद ग्रहण गर्दै मानन्धर समुदायका व्यक्ति । तस्बिर : दामोदर न्यौपाने

(काठमाडौं) - हनुमानढोका दरबारभित्रको नासलचोकमा मंगलबार बिहान मानन्धर समुदायको बाक्लो भीडभाड थियो । टाउकोमा सेतो फेटा बाँधेर जम्मा भएका मानन्धर समुदायकबाहेक सर्वसाधारणको पनि भीड थियो ।


ठूलो संख्यामा पर्यटक जम्मा भएका थिए । संघीय संसद्का सांसदलगायत पनि जम्मा भएका थिए । गुरुजी पल्टनका सेना कालो पोसाक लगाएर तैनाथ थएका थिए । काठमाडौंको मुख्यजात्रा इन्द्रजात्राको लागि लिङ्गो काट्न हिंड्ने साइत थियो ११ बजेर ४९ मिनेट । त्यही साइतमा गुरुजी पल्टनका सहायक पण्डित हुँदा ईश्वरप्रसाद अधिकारीले सुरुमा गुरुजीका पल्टनका सेनालाई टीका लगाएर बिदा गरे । सेनालाई बिदा गरेपछि मानन्धर समुदायलाई बिदा गरे पण्डितले ।


‘हनुमानाढोका दरबारको पश्चिमतिर पञ्चमुखी हनुमानको मूर्ति भएको ढोकाबाट एक–एक गरेर निस्कँदै गर्दा केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्रमान मानन्धरले भने, ‘अब यहाँबाट बिदा भएपछि लिङ्गो नल्याएसम्म हामी भित्र छिर्नु हुँदैन ।’ इन्द्रजात्रामा विभिन्न जातजाति मिलेर व्यवस्थापन गर्छन् । त्यसमध्ये लिङ्गो व्यवस्थापन गर्ने काम मानन्धर समुदायको हो । भाद्र शुक्ल द्वितीय तिथिमा लिङ्गो काट्ने साइत जुराइन्छ । लिङ्गो लिन नालाको जंगलमा जाने चलन छ । द्वितीय तिथिको राति ९:२१ को साइत निस्किएको काट्ने । ‘पहिला यहाँबाट (हनुमानढोका) बाट हिँडेरै जाने चलन थियो । त्यही भएर काट्ने साइत बेलुकाको निकालिने गरिएको हो,’ मानन्धरले भने, ‘अचेल गाडीबाट गइन्छ । बिहानको साइत गरियो, अब बेलुका पुग्ने गरी गाडीमै गइन्छ । आज बेलुका विधि पुर्‍याइन्छ । बोको बलि दिइन्छ । रूख आजैचाहिं ढालिंदैन । किनभने खाल्डोतिर पर्ने डर हुन्छ । विधिपूर्वक चोट लगाएर बिहान काटिन्छ ।’ रूख छान्ने काम पनि शिवरात्रिमै सम्पन्न हुने मानन्धरले जानकारी दिए । तृतीय तिथिको बिहानबाटै लिङ्गो हिँडाइन्छ । यसलाई तानेरै ल्याउने चलन छ । ‘पहिला मानन्धरले मात्रै तान्ने चलन थियो,’ उनी भन्छन्, ‘अहिले अरूले पनि तान्छन् । उताका गाउँलेले पनि सहयोग गर्छन् ।’


दुई दिन हिँडाएर भोटाहिटीमा राख्ने चलन छ । भोटाहिटीबाट उठाउने काम धालासीको मानन्धरले गर्छन् । काय अष्टमी तिथिमा भोटाहिटीबाट हनुमानढोका दरबार लैजान गरिन्छ । कायअष्टमीमा हनुमानढोका ल्याइएको लिङ्गोलाई एकादशी तिथिमा डोरीले बाँधिन्छ । द्वादशीका दिन सबै मानन्धर मिलेर लिङ्गो उठाउँछन् । अनि इन्द्रजात्राको रौनक सुरु
हुन्छ,’ मानन्धर भन्छन्, ‘इन्द्रजात्रको सुरु गर्ने काम पनि मानन्धरले गर्छन् । अन्त पनि लिङ्गो ढालेर मानन्धरले नै गर्छन् ।’


वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरेर यो पर्व मनाइन्छ । काठमाडौंमा मनाइने जात्रामध्येमा यो रमाइलो जात्रा मानिन्छ । भाद्र शुक्ल द्वितीय तिथिमा काभ्रेको उग्रचण्डी नालाको जंगलमा लिङ्गोका लागि काठ काट्न गुरुजु पल्टनसहित वनयात्रामा प्रस्थान गर्ने चलन छन् । जंगलमा कालो बोको छाडेपछि त्यसले जुन रूख छुन्छ त्यही रूख विधिपूर्वक काटेपछि इन्द्रध्वजाको लिङ्गो तयार पारिन्छ । एकादशीमा लिङ्गो नगर प्रवेश गराइन्छ । पूर्णिमामा लिङ्गो उठाएपछि इन्द्रजात्रा विधिवत् सुरु हुन्छ । विभिन्न देवीदेवताको प्रदर्शन, सांस्कृतिक बाजागाजा, झाँकीसहित ८ दिन मनाएपछि इन्द्रजात्रा सकिन्छ ।


इन्द्रजात्रालाई ऐतिहासिक जात्राको रूपमा समेत मनाइन्छ । इन्द्र जात्रामा रमाइरहेको बेला गोरखाका राजा पृथ्वीनारायण शाहले कान्तिपुर आक्रमण गरेका थिए । विसं १८२५ असोज १३ गते राति गोरखाली सेनाले कान्तिपुरमा आक्रमण गरेका थिए । यस युद्धमा दुवैतिरका २०/२५ जनाको मृत्यु भएको इतिहास छ । गोरखालीको आक्रमणपछि जयप्रकाश मल्ल भागेर पाटन पुगे । त्यसको ११ दिनपछि पाटन पनि विजय गरेपछि जयप्रकाश भक्तपुरका राजा तेजनरसिंह मल्लकोमा शरण लिन पुगेका थिए । पाटन विजय गरेको एक महिनापछि भक्तपुरमा पनि आक्रमण गरे । यहाँ पनि जयप्रकाश घाइते भए । पृथ्वीनारायण शाहले जयप्रकाशको इच्छाअनुसार उनलाई आर्यघाट पुर्‍याइदिए । आर्यघाट गएको केही दिनमा
जयप्रकाशको मृत्यु भयो ।

उपत्यका

बन्यो अपांगतामैत्री विद्यालय

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राजधानीको सिनामंगलस्थित गुहयेश्वरी माध्यमिक विद्यालयमा स्थापनाको ७१ वर्षपछि अपांगमैत्री संरचना बनाइएको छ ।


राष्ट्रिय अपांग महासंघ नेपाल र अपांगता शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था सीबीएमको पहलमा भवन पुनर्निर्माण भएको हो । २००४ सालमा स्थापित विद्यालयमा करिब ९ सय विद्यार्थी रहेको प्रधानाध्यापक मेघबहादुर बन्जाराले जनाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले नवनिर्मित भवन उद्घाटन गरे ।


मूल भवनमा प्रवेशद्वार र्‍याम्प, पहुँचयुक्त शौचालय, चमेनागृह, पुस्तकालय, पानीको धारा निर्माण गरिएको छ । त्यसैगरी कक्षाकोठामा ब्रेललिपिमै पठनपाठनको व्यवस्था गरिएको छ । विभिन्न ठाउँमा संकेत–पाटी राखिएका छन् ।


उद्घाटनक्रममा ह्विलचियर प्रयोगकर्ता छात्रा अनीता खत्रीलाई र्‍याम्पमा हिँडाइएको थियो । महासंघ अध्यक्ष सुदर्शन सुवेदीका अनुसार १४ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो ।

Page 6
सम्पादकीय

नो वन किल्ड निर्मला

- कान्तिपुर संवाददाता

बालिका हराएको गुनासो लिएर आउने अभिभावकलाई रित्तो हात निराश फर्काए । उनकै बलात्कारपछि हत्याजस्तो संवेदनशील घटनामा न छानबिनको तत्परता देखाउन सके न दोषी पत्ता लगाउने योग्यता । नेपाल प्रहरीको सुनियोजित वा हेलचेक्र्याइँको चरम रूप वा लापरवाह हुनुपर्छ– प्रमाणहरू लुप्त पार्ने शंकास्पद व्यवहार देखिए, नक्कली दोषी खडा गर्ने र कानुन, समाज र विवेकमाथि छारो हाल्ने नियत ।


कञ्चनपुरकी तेह्र वर्षीया निर्मला पन्तको आत्माले शान्ति पाउन नसक्ने निष्कर्षमा पुगी छानबिन समितिका एक सदस्यले राजीनामा दिँदा आफ्नै ज्यानको सुरक्षाका लागि गुहार मागे । ‘शक्तिशाली अपराधीबाट जुनसुकै समयमा हत्या गर्न सक्ने प्रबल सम्भावना’ रहेको औंल्याएर
उनले छानबिनकर्तामाथि परेका दबाबमाथि नै छानबिनको दरकार देखाएका छन् ।


प्रहरीले सुरुबाटै सही छानबिन गरेन । नागरिक आन्दोलन उठेपछि खडा गरिएका अभियुक्तलाई स्थानीयवासीले विश्वास गरेनन् । मानव अधिकार आयोगले पनि अनुसन्धानमा प्रहरीलाई दोषी भन्यो तैपनि हत्याका दोषीको यकिन छैन । केही वर्षअघि दिल्लीमा युवती बलात्कारपछि हत्या प्रकरण सुल्झाउन नसक्दाको घटनामा आधारित हिन्दी चलचित्र ‘नो वन किल्ड जेसिका’ जस्तो भनेर जनमानस आक्रोशित छ । प्रहरीकै कारण घटनास्थलको वातावरण शंकास्पद रह्यो । छानबिन त सुरुका छानबिनकर्ता प्रहरीमाथि नै गर्नुपर्ने भएको छ ।
जघन्य अपराधका घटनामा वास्तविक न्याय दिलाउन सकिँदैन । ज्यानको क्षतिपूर्ति केही गरी हुँदैन । मान्छेको मूल्य १० लाखले किन्दैन । अपराधीलाई कारबाही गरेर थोरै भए पनि न्यायको अनुभूति दिलाउने हो । भोलिका दिनमा यस्ता घटना नहोऊन् भनेर कानुनी राज्य कायम राख्ने हो । यसमा अनुसन्धान त परेको कुरा, सुरुबाटै खेलाँची र ढाँटढुँट भयो । जनताको दबाबपछि मात्र राज्य र प्रहरीले अलिकति तातो देखाए । यस्तो काम त प्रहरीको नियमित प्रणालीमै हुनुपथ्र्यो ।


अब त निर्दोषलाई दोषी ठहराइन्छ कि भन्ने ठूलो जनआशंका छ । त्यसबाट दोहोरो अन्यायको खतरा छ । न्याय दिँदा नातागोता वा आफ्नो मान्छे भन्न पाइँदैन । तर जिम्मेवार अधिकारीहरू त्यस्तै देखिएपछि पीडितका लागि न्याय, प्रहरी, फौजदारी कानुन, राज्य, राहतको कुनै प्रयोजन हुँदैन । राज्य भनेकै निमुखाका लागि हुनुपर्ने हो । यो घटनाले हाम्रो प्रणालीमा ठूलो भ्वाङ देखाएको छ ।


सरकारी मुद्दासम्बन्धी ऐन, प्रहरी ऐन, अपराध संहिताजस्ता सबै ऐन–कानुनअनुसार यो मुद्दा सम्बन्धित प्रहरीले नै अनुसन्धान गर्ने हो । त्यो भनेको कञ्चनपुर प्रहरी । उसको अनुसन्धानमा त्रुटि देखिए मात्र माथिल्ला निकाय वा महानिरीक्षकले अर्को भरपर्दो टोली पठाउने हो । प्रहरीलाई नै आरोप लागेको अवस्थामा निजामतीतर्फका अनुसन्धान अधिकृत आवश्यक परे महान्यायाधिवक्तासँग सल्लाह गरेर माग गर्ने हो, प्रहरीलाई नबचाइयोस् भनेर ।


अनुसन्धानप्रति जिम्मेवार पनि, उत्तरदायी पनि प्रहरी नै हो । निजामतीको नेतृत्वमा समिति बनाउने प्रचलन आफैंमा त्रुटिपूर्ण छ । त्यही समितिका सदस्यले पनि राजीनामा दिँदा ज्यानको खतरा देखाएपछि थप मिहिन अनुसन्धान गर्न प्रहरी आफैं अग्रसर हुनुपर्छ । उनी, परिवारका सदस्य, आवश्यक परे अन्य सदस्यको पनि कल रेकडर््स जाँच्दै दबाबका स्रोत पहिल्याउने र मूल दोषीसम्म पुग्न प्रयास गर्ने ।


निर्मलाको आत्मालाई न्याय, परिवारजनलाई सान्त्वना र समाजलाई कानुनको ढाडस दिन प्रहरीले बलियो अनुसन्धान गर्नुपर्छ । सुरुमा अनुसन्धान गर्ने प्रहरी र तिनका तत्कालीन अधिकृतउपर नै पोलिग्राफी परीक्षणसमेत गरी हेलचेक्र्याइँ वा बदनियत पहिल्याउनु र दोषीलाई कठघरामा उभ्याउनुपर्छ । प्रहरी महानिरीक्षकले भरपर्दो टोली बनाएर अनुसन्धान गराउन सकेनन् भने दोषी कहिल्यै नदेखिन सक्छ र त्यसै कमजोर हुँदै गएको प्रहरीको प्रतिष्ठा गायब हुनेछ ।

दृष्टिकोण

बौद्धिक को हो ?

धेरै पढेको हुनेबित्तिकै कोही बौद्धिक भइहाल्ने होइन । समकालीन संसारमा मात्र होइन, धेरै पहिलेदेखि समाजले कसलाई बौद्धिक मान्छ भन्नेबारे एउटा अलिखित संहिता बनेको छ ।
- विष्णु सापकोटा

बौद्धिक को हो भनेर गरिने प्रश्न र विमर्श सनातनी त हो नै । नेपालमा मात्र होइन, अन्यत्र पनि बिभिन्न कालखण्डमा यो प्रश्न अहम् भएर उठ्ने गरेको छ । र यसको उत्तर पनि समय र समाज अनुसारको त हुने नै भयो । तर ‘बौद्धिक को हो ?’ भन्ने प्रश्नमा नेपालको राजनीतिक संक्रमणका विगतका केही वर्षले एकैचोटी उदेक र लोभ दुबै लाग्ने विमर्शको सिर्जना गरेको छ । त्यो विमर्श के हो भने– ‘बौद्धिक’ भनेको एउटा राजनीतिक ‘क्याटगोरी’ हो र यस वर्गको ‘उत्पादन’ राजनीतिक दलहरूले गर्ने गर्छन् । को कस्तो बौद्धिक हो वा होइन भन्नेमात्र होइन । कुन खाले बौद्धिकता ‘जैविक’ हो र कुन खाले आयातित वा बिकाउ हो भनेर निर्माण गरिने दृष्टिकोणमाथि दलहरूले आफ्नो राजनीतिक स्वार्थ मुताविक पुरै कब्जा जमाउन सफल भएका छन् ।


कतिपय जनताको नजरमा नैतिक रूपमा स्वयं अवैध ठानिएका भए पनि, बौद्धिकताको वैधता प्रदान गर्ने वैध संस्था तिनै राजनीतिक दलहरू नै बन्न पुगेका छन्, कुनै विश्वविद्यालय वा प्राज्ञिक संस्था होइन । ‘बौद्धिकता’लाई परिभाषित गर्ने प्राधिकार कसरी दलले विद्वानहरूबाट खोसेर यसलाई एउटा कोरा राजनीतिक दलीय दृष्टिकोणमा सीमित बनाइएको छ भन्ने यथार्थ नेपालको शान्ति प्रक्रियाको इतिहासको एक प्रमुख अंश भएर लेखिनुपर्छ । यस आलेखले माथि उल्लेखित विमर्शको प्रवृत्ति, चरित्र र यस्तो किन भएको हो भन्नेबारे केही सन्दर्भसहित चर्चा गर्नेछ ।


राजनीतिवाला सन्दर्भलाई पर राखेर हेर्दा बौद्धिक व्यक्तित्व र संस्थाको उपस्थितिको सवालमा नेपाल सबैभन्दा गएगुज्रेको मध्येको स्थितिमा होला भन्ने कुरामा पनि धेरै छलफलको जरुरी नै छैन । तर सबैभन्दा रोचक के छ भने–त्यही अति कमजोर स्थितिमा रहेको त्यो अमूक बौद्धिक वर्ग र व्यक्ति, समाजलाई बिगार्न भने सबैभन्दा बढी शक्तिशाली बनेको छ । अथवा नेपाली समाजका धेरैलाई लाग्छ : नेपालमा धेरै कुरा बिग्रिनुमा बौद्धिकहरूको हात छ । ‘जनयुद्ध’ताका माओवादीलाई उचाल्न तिनीहरूको हात थियो । जातीयता उचाल्ने तिनीहरू नै थिए, संघीयता, धर्म निरपेक्षता आदि ल्याउनेमा तिनीहरूकै हात बढी छ । अर्थात पहिलेको ‘सुन्दर, शान्त’ नेपाललाई बिगार्नमा, विदेशीको भूमिका बढाउनमा नेपालको बौद्धिकहरूको हात छ । यस्तो भन्ने/ठान्ने धेरै छन् ।


एकातिर नेपालमा खास बौद्धिक नै छैनन् भनेर भन्नेहरू पनि तिनै हुन्छन् । तर तिनीहरूमध्ये नै फेरि पटक–पटक त्यही अमूक र अमूर्त बौद्धिकलाई नै आलोचना गरेर बसेका हुन्छन्, आफूलाई मन नपरेका सबै विषयको लागि । आखिर को रहेछन् त ती अनाम बौद्धिकहरू जसले यत्रो धेरै बिगार्न सक्ने क्षमता राख्छन् ? नेपालको राजनीतिक संक्रमणले त्यो हैसियत र अनुहार दुबै नभएको बौद्धिक समुदायको कल्पना गरेर खासमा कसलाई आलोचना गरिराखेको हो ? नेपालमा आखिर बौद्धिक भनेको नै को हो र त्यो काल्पनिक बौद्धिक समुदाय खडा गरेर त्यसैमाथि खनिएर आलोचना गरिने समाजको प्रवृत्ति भित्रको राजनीति के हो त ?


१/२ वटा उदाहरणमार्फत हेरांै । माओवादीको संघर्ष सुरु हुँदादेखि नै केही व्यक्ति संसदीय दलको अकर्मण्यता र भ्रष्टाचारदेखि आजित भएका थिए र तिनीहरूबाट आस गर्न छाडेका थिए । त्यस्तोमा माओवादीले त्यो संस्कारलाई परिवर्तन गर्छु भनेकोले बरु माओवादी नै ठिक हुन् कि भनेर जान–अन्जानमा ज–जसले माओवादीप्रति नरम बोली बोल्न थाले, उसले तिनीहरूलाई बौद्धिक घोषणा गरिदियो । तर माओवादीले बौद्धिक भन्न थालेपछि ती व्यक्तिहरू तत्कालीन एमाले र कांग्रेसका लागि अबौद्धिक लाग्न थाले । कालान्तरमा त्यही कुनै बौद्धिकले जब माओवादीलाई चुनौती दियो, उसको कुनै जातीयता र संघीयता सम्बन्धी मुद्दामा, तब तुरुन्तै त्यो व्यक्ति उसको लागि पनि ‘बिकाउ बुद्धिजीवी’मा परिणत भइहाल्यो । ती ‘अजैविक’ भए ।


दुई ठूला वामपन्थी पार्टी मिलेर नेकपा बनेपछिको बौद्धिकको परिभाषा त झन् रोचक भएको छ । पार्टी एकीकरण नहुन्जेल माओवादीको राजनीतिक लाइन (मधेस, संघीयता, नागरिकता) लाई आलोचना गर्नेहरूलाई एमालेले गजबका बौद्धिक मान्थ्यो । त्यस्तै एमालेको ‘सांँघुरो राष्ट्रवाद’वाला कुरालाई आलोचना गर्नेहरू माओवादीको नजरमा सच्चा बुद्धिजीवी हुन्थे, देश सेवामा समर्पित । अहिले दुई पार्टी भावनामै पनि एक भएको देखाउनुपर्ने चुनौती भएर होला, यी दुई मुद्दामध्ये जसलाई आलोचना गर्नेहरू पनि बिकाउ बुद्धिजीवी भएका छन् । मुद्दा तिनै पहिलेकै हुन् । ती मुद्दामा त्यस्तो विचार राख्नेहरू पनि तिनै हुन्, जसले वर्षौंदेखि त्यही कुरा भन्दै आएका छन् । तर दुइटा पार्टी मिलेर जब राजनीतिक स्वार्थको त्यहाँ घुलन भयो, बौद्धिकको परिभाषा उक्त नयाँ पार्टीको लागि तुरुन्त फेरिनुपर्ने स्थिति बन्यो ।


आफ्नो दलको कुनै नीति, कृति वा विकृतिलाई आलोचना गर्नेलाई बौद्धिक नै होइन वा बिकाउ बौद्धिक हो भन्ने कुरा पनि बुझ्न सकिने नै भयो । तर त्योसँंगै नेपाली समाजको अर्को एउटा प्रवृत्ति झन् डरलाग्दो छ । त्यो के भने– दल बाहेकको एउटा ठूलो सामाजिक तप्का छ, जसले विगतका केही वर्षका मुख्य राजनीतिक परिवर्तनलाई स्वीकार्नसकेको छैन । सबै परिवर्तनका लागि सबैभन्दा धेरै गाली यो वर्गले त्यो काल्पनिक बुद्धिजीवीलाई गर्छ, मानौं यो सबै परिवर्तन बुद्धिजीवीले मात्र गराएका हुन् । बुद्धिजीवीको त्यत्रो तागत र हैसियत हुने भए इतिहास अर्कै र अहिलेभन्दा सुन्दर पनि हुन्थ्यो होला बरु । अब यो प्रवृत्ति के हो भन्नेबारे चर्चा गरौं, जसले हरेक मन नपरेको कुराको दोष त्यही चेहरा बिनाको बौद्धिकलाई दिन्छ ।
शान्ति प्रक्रिया सुरु भएसँंगै यत्रो ठूलो राजनीतिक र सामाजिक परिवर्तन भएको छ कि यसका धेरै कुरा धेरैलाई मन नपर्नु स्वाभाविक हो । समाजमा कट्टरपन्थीहरू हुने नै भए, तर तिनीहरू ती ठूला आन्दोलनले ल्याएको परिवर्तनलाई रोक्न सक्ने सामथ्र्य राख्दैनथे । नेपाल जब राजतन्त्रबाट गणतन्त्र हुँदै संघीयता र धर्म निरपेक्षतातिर जानथालेको थियो, त्यो पार्टीभित्रै र बाहिरको कट्टरपन्थी जमात सुरुमा बोल्नसकेको थिएन । तर जब विस्तारै परिवर्तनका मुद्दा स्थापित हुँदै गए र दलहरू पुन: कलंकित हुँदै गए, त्यो समुदाय बोल्न, जुर्मुराउन थाल्यो– आफ्नो असन्तुष्टिबारे । तर बोल्न थाले पनि ऊ त्यही परिवर्तनका मुद्दामा हस्ताक्षर गरेका ठूला दलका ठूला नेतासंँग वैचारिक रूपमा भिड्ने साहस अझैसम्म पनि राख्दैन । त्यसपछि उसले आलोचनाको तारो बनाउँछ, त्यही बौद्धिकलाई जसले ती मुद्दामा समर्थन गरेको थियो । अहिले नेकपा बनेपछि, माओवादीका कारण स्थापित कतिपय मुद्दामा त्यस पार्टी भित्रका व्यक्तिहरू आफ्नै नयाँ अध्यक्ष प्रचण्ड र अन्य नेतालाई आलोचना गर्ने हैसियत राख्दैनन् । तर त्यहीं भित्रकाले बरु सहजै कसैलाई ‘डलरवादी’ भन्दै गाली गर्‍यो र आफ्नो मनको भँडास पोख्यो– जुन अति सजिलो र ‘पपुलिस्ट’ तरिका भएको छ ।


संघीयता नेपाललाई चाहिएकै थिएन, यो विदेशी एजेन्डा हो भनेर दुई ठाउँमा लेख्नुस् र बोल्नुस्, संघीयता मन नपराउनेहरूले तपाईंलाई प्रकाण्ड विद्वान ठान्न थाल्नेछन् । त्यसको उल्टो, एमाले र माओवादीको मिलन भएकै संघीयतालाई विस्तारै निल्नका लागि हो भनेर लेख्नुस्, अर्काथरीको नजरमा तपाईं विद्वान ठहरिहाल्नु हुन्छ । भन्न खोजेको के हो भने– खास बौद्धिक को हो र राजनीतिले यो बौद्धिक भन्ने ‘क्याटगोरी’ कसरी निर्माण गर्छ भन्ने कुरा फरक–फरक हुन् । अनि दलको लागि राजनीतिक उपयोगिता सकिएपछि कोही बौद्धिक उक्त दलका लागि तुरुन्त अबौद्धिक हुनथाल्छ । नाम नै लिउंँm– खगेन्द्र संग्रौला र सीके लालजस्ता व्यक्ति माओवादीको लागि ठूला बौद्धिक थिए त्यतिबेलासम्म, जतिबेलासम्म उनीहरूले बौद्धिक पैरवी गर्ने मुद्दामा उक्त पार्टी सहमत थियो । अब उक्त पार्टी आफै रूपान्तरण भइसक्यो । तर ती बौद्धिकहरूले उही पुरानै मुद्दा छाडेनन् भने तिनै नेताले भन्नेछन् वा भन्न थालिसकेका छन्– हाम्रा पहिलेका बौद्धिक साथीहरू अहिले बिग्रे । बिग्रेका प्राय: दल नै हुन् भन्ने सबैलाई थाहा छ ।


यो सबै प्रवृत्तिको आलोकमा बौद्धिक को हो भन्दा पनि को होइन भन्न सजिलो छ । कुनै निश्चित विषयमा विद्वता हुनु र बौद्धिक हुनु, त्यसमा पनि सार्वजनिक बौद्धिक हुनु अलग कुरा हुन् । धेरै पढेको हुने बित्तिकै पनि कोही बौद्धिक भइहाल्ने होइन । समकालीन संसारमा मात्र होइन, धेरै पहिलेदेखि नै समाजले कसलाई बौद्धिक मान्छ भन्नेबारे एउटा अलिखित संहिता नै बनेको छ । जस्तो– प्रसिद्ध विद्वान नोम चोम्स्कीलाई अमेरिकी संस्थापनले कहिल्यै गतिलो बौद्धिक मान्दैन । तर अमेरिका भित्रदेखि बाँकी विश्वका धेरैका लागि उनी दुर्लभ मध्येका बौद्धिक हुन् । हाम्रो छिमेकी भारतमै हेरौं । सत्ताले त के, परम्परागत रूपमा वर्चस्वशाली रहेको वर्गको कसैले अरुन्धती रायलाई देशलाई काम लाग्ने बौद्धिक हुन् भनेर मान्दैन । तर सत्ताद्वारा पिल्सिएका निमुखा र अरु प्रगतिशीलका लागि उनी को हुन्, सबैलाई थाहा छ । तसर्थ बौद्धिकता राम्रै मात्रामा भएको भए तापनि सत्ताको ताबेदारी गर्ने र वर्चस्वशाली वर्गको हित हुने कुरामात्र बोल्नेलाई बृहत् समाजले बौद्धिक मान्दैन । फेरि समाजले रुचाएको बौद्धिक भनेको धेरै ज्ञान भएको मान्छे मात्र कहाँ हो र ? बौद्धिकता त एउटा मनोवृत्ति न हो, जसले निमुखाहरूको पक्षमा सत्तासंँग निहुँ खोजिरहन डराउँदैन । धेरै पढेलेखेको हुनु र बौद्धिक हुनु भनेको कुराको फरक इतिहासमा त्यसै बनेको होइन होला ।

पाठक मञ्च

एक घर, एक विदेश

- कान्तिपुर संवाददाता

निराशासँगै आशा पनि बग्रेल्ती भेटिन्छन् । उपचार नपाएर एक अबोध बालकको मृत्यु हुन्छ । उपचार नपाएर एक गर्भवती महिलाको मृत्यु हुन्छ । बलात्कारको घटना दिनहुँ हुन्छन् । पहिरनदेखि संस्कारका मौलिक परम्परामाथि आयातित संस्कार हावी हुँदै गएको छ । सामाजिक सद्भाव र एकता जोड्ने स्थानीय क्लबहरू हटेर विदेशी आईएनजीओको प्रभाव बढ्दै गएको छ । ‘एक घर एक विदेश’को संस्कार मौलाएको छ । अलिअलि भएको खेतीयोग्य जमिन पनि प्लटिङ र बाँझोमा परिणत भएको छ ।


वर्गीय विभेद बढ्दो देखिन्छ । धर्म, संस्कार कुल्चेर आधुनिकताको नाममा वेभिचार मौलाएको छ । गर्भपतन र पारपाचुकेका घटना बढ्दै गएका छन् । प्रहरी चौकी, जेल, अदालत, अस्पतालमा मान्छेको भिड बढ्दै गएको छ । यो सभ्य समाजको संकेत होइन । सेवाका हातहरू व्यवसायी बन्दै गएका छन् । स्वार्थ बिनाका सम्बन्धहरू विस्तारै हराउँदै गएका छन् । घरहरू एक्लिएका छन् । वृद्ध बाबुआमाका आँखा जवान छोराछोरीको प्रतीक्षामा व्यग्र देखिन्छन् । मानवीय
भावना जीर्ण बन्दै गएको छ । पिर्का छोडेर सोफामा बस्नुलाई विकास र समृद्धि मानिएला, तर तिर्खा लागेको बेला पानी छोडेर ह्विस्की खानु राम्रो होइन ।
– जोन कँडेल,भरतपुर–४, चितवन

पाठक मञ्च

पेचिलो बन्दै छानबिन

- कान्तिपुर संवाददाता

किशोरीको बलात्कारपछि हत्या घटना झन् पेचिलो बन्दै गइरहेको छ । घटना भएको महिनौं भइसक्यो, तर वास्तविक अपराधी पहिचान हुनसकेको छैन । किशोरी बलात्कार—हत्या छानबिन समिति २ पटक गठन भयो, तर अपराधी निर्धक्कसँंग घुमिरहेको छ । शून्य अवस्थादेखि घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन टोली गठन भए पनि म्यादभित्र प्रतिवेदन प्रस्तुत गर्न सकेन । बरु ज्यानको असुरक्षाको कारण देखाउँदै छानबिन समितिबाट उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् । अब घटनाको वास्तविक तथ्य बाहिर आउने प्रबल सम्भावना देखिएको छ । घटनाको बेवास्ता गर्ने प्रहरी, प्रमाण मेटाउन सहयोग गर्ने प्रहरी, घटना स्थलमा किशोरीको सुरुवाल पखाल्ने प्रहरी तथा उपसचिवलाई धम्की दिने व्यक्तिलाई केरकार गरेमा वास्तविक सत्य–तथ्य बाहिर आउन सक्छ ।
– प्रमोद पौडेल,श्रीपुर, वीरगन्ज

पाठक मञ्च

नेतृत्व हत्याउने होडबाजी

- कान्तिपुर संवाददाता

कांग्रेसमा केही समय पहिले उमेर हदको विषयले चर्चा पाएको थियो । अहिले फेरि आगामी महाधिवेशनमा नेतृत्व कसले हत्याउने भनी संस्थापन र संस्थापन इतरका विभिन्न समूहका भेला तथा छलफल हुनथालेको छ । अब मूलकुरो आउँछ नेतृत्व र ऊसँग असहमत वा भावी दिनमा पद हात लगाउने पक्षको । यदि पार्टी सफल, सरकारमा रहेको तथा मुलुकका लागि पार्टीको जरुरत भएको भनी जनताले ‘हाइहाइ’ गरेको भए यस्ता चर्चाले खासै महत्त्व पाउने थिएन । विकासको कुरा छाडौं । समय अनुकूल पार्टीलाई परिचालित गरको पाइँदैन । बेलाबखत कुनै आन्दोलनको आवरणमा त्यसैलाई विरोधको प्रमुख एजेन्डा बनाउने बाहेक खासै गतिलो प्रस्तावना आउँदैन । मुलुक संघीयतामा गइसकेकपछि खै सोही अनुरुपको सांगठनिक स्वरुप ? पार्टीको अबको एजेन्डा के हुने ? हिजो हिन्दु राष्ट्र हटाउने अन्य दलको अभियानमा साक्षी बस्नाले कति नोक्सानी भयो ? महामन्त्री नखुलेर सो एजेन्डाको वकालत गर्छन्, न अब पार्टी पंक्ति नै यो सब सकियो भनेर जनतालाई अथ्र्याउन सक्छन् । संघीय तथा केन्द्रको चुनावमा कम्युनिष्ट पार्टीबीच कार्यगत एकता तथा मिलेर चुनाव लड्दा यता कांग्रेसका उम्मेदवार भनेका खल्तीबाट, कोठाबाट र ब्रिफकेसबाट छानिए । अब यी सब देखेर, चेतेर गाउँ, टोलदेखि केन्द्रसम्म प्रजातान्त्रिक तवरले नेतृत्व चयन हुनुपर्छ ।
– श्रीकृष्ण राजवंशी,सुनकोसी–३, सिन्धुली

पाठक मञ्च

सोचमा परिवर्तनको खाँचो

- कान्तिपुर संवाददाता

शनिबार, प्रकाशित सरिता तिवारीको ‘तीज खारेजीको प्रश्न’ले धर्म र संस्कृतिको नाममा समाजभित्र मौलाएको धार्मिक अन्धविश्वासको रीतिरिवाज, त्यसभित्र भएको पुंँजीवादको व्यापारिक घुसपैठ र पुंँजीवादकै सिलसिलामा सक्कली वा नक्कली रूपका पुंँजी प्रदर्शनीको सामाजिक मनोवैज्ञानिक स्पर्धाले निम्त्याएको आधुनिक विसंगतिलाई छर्लंग पारेको छ । हिन्दु धार्मिक समाजका महिलाले पालना गर्नुपर्ने जेजति धार्मिक संस्कार, रीतिरिवाजका कर्म छन्, सबै परापूर्वकालदेखि चलिआएका सामन्ती समाजको नियम हो । तीज मनाउन विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाहरूले राम्रो र असल पति पाउने अपेक्षा गर्दै पानी पनि नखाई निराहार बस्नुपर्ने कठोर व्रत, शिवलिङ्गको पूजा, ऋषिपञ्चमीका दिन गरिने धार्मिक विधि, रीति र संस्कार सामन्ती समाजले लादेको धार्मिक सर्त अर्थात् सजायका अंश हुन् । धर्मले पत्नीको दीर्घायुका लागि निराहार व्रत बस्नुपर्ने व्यवस्था पुरुषमा नराखी किन महिलामा मात्र राख्यो ? पत्नीको दीर्घायुको कामना गर्ने दायित्व के पुरुषमा हुँदैन ? अर्थात् पतिको दीर्घायुको कामना गरेको भनेर देखाउन महिलाले कठोर व्रत नै बस्नुपर्छ ? तीजमा गरिने यी धार्मिक विधि र रीतिले हिन्दु धर्म पुरुषप्रधान छ भन्ने प्रस्ट हुन्छ । सुधारको लागि चेतना र सोचमा नै परिवर्तनको महाकम्पन ल्याउन सक्नुपर्छ ।
– एलबी आले मगर,वीरगन्ज, पर्सा

पाठक मञ्च

प्रहरी नियन्त्रणमा पत्रकार

- कान्तिपुर संवाददाता

समाचार प्रकाशित गरेको आधारमा पत्रकार राजु बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हरिसिद्धि इँटा–टायल कारखानाको जग्गा भूमाफिया र सत्तारूढ नेकपाका सांसदहरू पम्फा भुसाल र राजकाजी महर्जन मिलेर बिक्री गर्नलागेको समाचार लेखेपछि उक्त समाचारले आफ्ना सांसदहरूको बदनामी भएको भन्दै नेकपा निकट एक व्यक्तिले जिल्ला अदालतमा उजुरी दिएकै आधारमा बिना छानबिन हचुवा पारामा बस्नेतलाई नियन्त्रणमा लिनुले सरकार दुई तिहाइको दम्भसाथ अगाडि बढेको प्रस्ट हुन्छ । प्रेस काउन्सिलको क्षेत्राधिकारलाई समेत मिचेर सरकारले जुन रवैया अपनाएको छ, त्यसले कालान्तरमा सरकारलाई नै कमजोर पार्ने निश्चित छ । प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्दा तत्कालीन राजा ज्ञानेन्द्रले समेत सत्ता गुमाएका थिए भने पत्रकार बस्नेतको घटनाले सरकारमाथि गम्भीर संकट नआउला भन्न सकिन्न ।
– एसपी बडु, कृष्णपुर–६, कञ्चनपुर

पाठक मञ्च

समस्याबाट भाग्ने होइन

- कान्तिपुर संवाददाता

प्रधानमन्त्री कार्यालयले सबै मुख्यमन्त्रीलाई निम्तो पठाएर भदौ २४ गते बोलाएको प्रदेश परिषद बैठक तयारी नपुगेको भनी स्थगन गरियो । मुख्यमन्त्रीहरू संलग्न हुने परिषद बैठक तयारी नपुगेको भनी सार्नु दुर्भाग्यपूर्ण हो । २०७४ चैतमा प्रदेश र संघको अधिकार सम्बन्धी विवादित बुँदामा प्रधानमन्त्रीको आश्वासन पूरा नभएकाले मुख्यमन्त्रीहरूको भदौ २१ र २२ गते पोखरामा भएको भेला र त्यसको निर्णय प्रधानमन्त्रीलाई मन नपर्दा प्रदेश परिषद सारिएको अड्कल गर्न सकिन्छ । समाधान आमने–सामने बसेर हुन्छ, नकि समस्याबाट भागेर । संघीयता लागू भइरहेकै बेला देखिएका विभिन्न समस्याको एकमात्र समाधानको बाटो वार्तालाप र बैठक नै हो । समाधान खोज्न उक्त परिषद एउटा महत्त्वपूर्ण साधन हुनसक्थ्यो ।
– महेन्द्रसिंह बम,टीकापुर–१, कैलाली

पाठक मञ्च

मानव अधिकारको बेवास्ता

- कान्तिपुर संवाददाता

ह्युमन राइट्स वाचका क्लाइभ वल्र्ड विनले कान्तिपुरमा अथ्र्याएको नेपालमा द्वन्द्वकालीन अपराधमा संग्लग्न मुख्य अपराधीहरूलाई के कस्तो कारबाही होला ? यदि भएन भने के
होला भनी लेखेको लेखलाई कुनै पनि विद्वत समूहले क्रिया/प्रतिक्रिया नगरेको देख्दा उदेक लाग्यो । के क्लाइभले भनेजस्तो स्थिर सरकार बनेर पनि अपराधीहरू यसरी लगातार एकपछि अर्को स्वतन्त्र घुम्न पाउनु मानव अधिकार सुरक्षित भएको हो ? या उनीहरू अझ महसुर भएका हुन् ? सरकार मानव अधिकार संरक्षणमा किन मौन ? यदि बलियो सरकारले यो काम गर्न सक्दैन भने क्लाइभले भनेजस्तो नेपालका संदिग्ध अपराधीहरू तथा सरकारी अधिकारीहरू विदेश भ्रमणमा जाँदा अन्तर्राष्ट्रिय कानुन आकर्षित भई अन्तर्राष्ट्रिय अदालतबाट प्रताडित हुनसक्ने प्रबल सम्भावना रहन्छ ।
२/४ जना अपराधीलाई बचाउँदा राष्ट्रको शाख नै धुमिल हुने कार्य किन गरिराखेको छ, यो सरकार ?
– केदारनाथ त्रिपाठी,बुढानीलकण्ठ, काठमाडौं

पाठक मञ्च

समृद्धिका कुरा

- कान्तिपुर संवाददाता

सोमबार प्रकाशित अच्युत वाग्लेको ओलीको असफलता चेतको लेख पठनीय र मननीय छ । लामो समयदेखि दुई तिहाइको सरकारको अभावका कारण सरकारले प्रभावकारी काम गर्न नसकेको भाष्य जनमानसमा व्यापक रूपले परिभाषित गरियो । तर दुई तिहाइको अहिलेको सरकारको प्रारम्भिक संकेत पनि खासै भिन्न छैन । दुई तिहाइ भए सबै समस्या जादु जसरी समाधान हुन्छ भन्ने भाष्यप्रति पनि विस्तारै मोहभङ्ग हुँदैछ । अहिलेका प्रधानमन्त्री समृद्धिको गफ गरेर थाक्नुहुन्न । तर उहाँसँग यसबारे ठोस कार्यक्रम केही देखिन्न । सैद्धान्तिक रूपले नै उहाँहरू गलत बाटोमा हुनुहुन्छ । आखिर समृद्धि कसको भन्ने कुरामा सरकार स्पष्ट देखिन्न । केही मुठ्ठीभर त हिजो पनि समृद्ध थिए, भोलि पनि हुनेछन् । तर यसरी राष्ट्र कसरी समृद्ध हुन्छ ? प्रधानमन्त्रीले भन्ने गरेका रेल, पानीजहाजले समाजको तल्लो वर्गको कसरी हित हुन्छ ? प्रश्न निकै जटिल छ । त्यसैले सरकारले विकासका कुरा गर्दा समाजको सबभन्दा तल्लो वर्गलाई लक्षित कार्यक्रम ल्याउनुपर्छ ।
– मनोज लम्साल,काठमाडौं
***


हालै सम्पन्न बिमस्टेक बैठकमा ‘माउन्टेन इकोनोमी’ र ‘ब्लु इकोनोमी’ महत्त्वको विषय बन्यो । ‘ब्लु इकोनोमी’ अर्थात् समुद्रको पहुँचवाट हुने आर्थिक समृद्धिमा हाम्रो पहुँच पुग्ने सम्भावना भए पनि ‘माउन्टेन इकोनोमी’सँग जोडिएको सन्दर्भले विकास अभियानमा बढी सहयोग पुग्ने देखिन्छ । यो विषयमा बिमस्टेकका ७ सदस्य राष्ट्रमध्ये हामीजति भाग्यशाली अरु देखिंँदैनन् । नेपाल बाहेक भूटान भूपरिवेष्टित पर्वतीय राज्य भए पनि हामीसँग अर्थोपार्जनका सम्भावना प्रचुर छन् । बुद्धिष्ट सर्किटको विकास, जलस्रोतको सदुपयोग, पर्यटकीय क्षेत्रको व्यवस्थापन र विस्तारबाट नेपालले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्न सक्नेछ । पशुपति, सगरमाथा, बुद्धको ब्रान्डबाट मिनरल वाटर उत्पादन, राफ्टिङ, बन्जी जम्पिङ, माउन्टेन बाइकिङ, ट्ेरकिङ, हिमाल आरोहण, पर्वतीय म्याराथन, तालतलैया, नदीनाला, राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण, होमस्टे, विविध सांस्कृतिक गतिविधि, भाषा, वेशभूषा, कलाकृति, संस्कृति, संस्कारको अवलोकन जस्ता विषयले व्यापार प्रबद्र्धनका साथै पर्यटकलाई निरन्तर आकर्षित गर्नेछ । पहिले प्रधानमन्त्री, अब परराष्ट्रमन्त्री बिमस्टेक बैठक सफल भएको भन्दै फाइल थन्क्याउने तरखरमा लागेका छन् । औपचारिकता पूरा भएपछि ढुक्कसँग सुतेर बस्ने शासकीय शैली हाम्रो संस्कार बनिसकेको छ । कतै अर्को बैठकसम्म नयाँ सरकार गठन भएपछि पुरानो बिमस्टेकको फाइल खोज्ने, धुलो टकटक्याउने र भित्र ‘माउन्टेन इकोनोमी’ शव्द देखेपछि झल्यास्स हुन नियति त व्यहोर्नुपर्ने होइन ?
– भुवनेश्वर शर्मा,चन्द्रागिरि–२, काठमाडौं

Page 7
विविधा

मौलिकता हरायो

- गीता शर्मा (ढुंगाना)

पहिले–पहिले व्रतको दिन पेट अडिलो होस् भनी बिहान कुखुरा नबासुन्जेल दर खाने गर्थे । तर अहिले महिनादिन अघिदेखि दर खाने चलन बसेको छ । अहिलेको दरमा परिकार फेरिएका छन् । आधुनिक खानाको साथमा मदिरा पनि जोडिएको छ । पहिले–पहिले तीजमा चेलीले गीत गाएर घर–माइतका व्यवहारका तिता अनुभूति प्रकट गर्थे । अहिले तडक–भडकले भरिएका भडकिला गीतमा नाचगान गर्ने गरेको पाइन्छ । सबैभन्दा बढी गीत र दरले तीजलाई विकृत बनाएको छ ।


सामाजिक सञ्जालमा देखिने तस्बिर र भिडियो अनुसार विदेशमा रहेका नेपाली चेलीबेटीले आफ्नै मौलिक परम्परामा तीज मनाएको देखिन्छ । तर आफ्नै देशमा भने तीज विकृतितर्फ उन्मुख भएको देख्दा मन खिन्न हुन्छ । आधुनिकताको नाममा परम्परालाई भुलेर समाज सांस्कृतिक अतिवादतर्फ ढल्कँदैछ । यसले हाम्रो संस्कृतिलाई ठूलो असर पर्छ । चाडपर्व भनेको आफन्त, साथीसंगीसँग मिलनको अवसर हो । कामको चापले गर्दा आफन्त, साथीसंगी टाढिँदै गइरहेका छौं । पुराना स्मृति बिर्सिंदै गइरहेका हुन्छौं । चाडपर्वको माध्यमबाट सबैसँग भेट गर्ने अवसर प्राप्त गर्छौं । अरुको देखासिकी गरेर विकृत्ति भित्र्याउनुभन्दा आफ्नै परम्परा जगेर्ना गर्दै मनाउनु राम्रो हुन्छ । भड्किलो चाड हुनगयो भने आर्थिक रूपले सम्पन्न परिवारले मात्र तीजपर्व मनाउन सक्छन् । विपन्न वर्गले टुलुटुलु हेरेर मात्र बस्नुको विकल्प हुँदैन । त्यसपछि उनीहरूका लागि यसको कुनै औचित्य र महत्त्व रहँदैन ।


व्रत/उपवास बसेर परिवारको सुस्वास्थ्य, दीर्घायु हुने कामना गर्ने यो पर्वमा अहिले लत्ताकपडा, गरगहना र दर खाने प्रतिस्पर्धाको होड छ । तीजको अघिल्लो दिन शुद्घ शाकाहारी खाएर व्रत बस्ने चलन थियो । तर अहिले यसमा विकृति आएको छ । तीज पर्व नभएर दर पर्वको रूपमा रूपान्तरण हुन्छ । सहर–बजार र आर्थिक सम्पन्न महिलालाई घरको कामकाज र बुहार्तन बेहोर्नुपरेको छैन । बच्चा मन्टेसरी जाने र सासू–ससुराले पनि आफै काम गर्ने भएपछि सहरका नारी स्वतन्त्र छन् । उनीहरूले बुहार्तन खप्न नपरेकैले तीजको मौलिकता हराउँदै गएको हो । बिहे गरेर दिएका चेलीबेटी माइत जाने फुर्सद र समय नभएको हुनाले त्यसको मौलिकता थियो । अहिले त्यस्तो छैन, दिनमा एकपटक माइत पुग्न सम्भव छ । वैदेशिक रोजगारमा रहेका अधिकांशका श्रीमती माइतै बस्छन् । त्यस्ता चेलीलाई न लिन जानुपर्ने न बोलाउनुपर्ने भयो । त्यसैले तीजको मौलिकता हराउँदै गएको हो । अझै कतिपय ठाउँमा बिहे गरेपछि बुहारीकै रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेका दिदीबहिनीहरू छन् । उनीहरूलाई मात्र यसको मौलिक महत्त्व हुन्छ ।


ग्रामीण तथा दुर्गम ठाउँमा आर्थिक अभावकै कारण महिला दिदीबहिनीहरूले राम्रो लाउन, मिठो खान पाएका हुँदैनन् । महिना दिनदेखि महङ्गो पार्टी प्यालेस, होटलहरूमा गहनाको प्रदर्शन गरेर दर खानुको सट्टा आर्थिक रूपमा विपन्न महिलाहरूलाई सीप प्रदान गरी स्वरोजगार बनाउँदा राम्रो हुन्छ । कति महिलालाई सीप प्रदान गरेर स्वरोजगार बनाएँ भन्ने प्रतिस्पर्धा गर्दा राम्रो हुन्छ । तिनीहरूसँगै रमाइलो गर्दै दर खाने कार्यक्रम गर्दा भोलिका चेलीबेटीले दु:ख पाउँदैनन् । अब यसका लागि महिला सचेत हुनुपर्छ । सम्पन्न वर्गका महिला दिदीबहिनीले विपन्न वर्गका दिदीबहिनीलाई हातेमालो गर्दै तीज मनाउनसके यो पर्वको महत्त्व रहिरहनेछ । सबै दिदीबहिनी मिलेर दर खाउँ, नाचगान गरौँ, रमाइलो गरौँ । तर ३ दिनको चाडलाई महिनादिन नबनाऊँ । फजुल खर्च नगरौँ । सभ्य र सम्मुन्नत समाज अनि सांस्कृतिक पहिचान निर्माण गरौँ ।

विविधा

नागरिक पहिचानको पर्खाइ

आमाको एकल अभिभावकत्वमा हुर्काइएको सन्तान दर्जनौं मौलिक हकबाट वञ्चित हुने गरी कानुन बनाएर हामी कस्तो दायित्व पूरा गरौंला ?
- विन्दा पाण्डे


नागरिक परिचानको विषय फेरि छलफलको उत्कर्षमा छ । संशोधनका लागि नागरिकता सम्बन्धी विधेयक संसदमा पेस भएपछि सरोकारवालाका लागि यो चासोको विषय बन्नु स्वाभाविकै हो । नागरिक पहिचान सबै अधिकार सदुपयोगको जग हो । यसको अभावमा व्यक्ति शिक्षा र रोजगारी प्राप्त गर्नेमात्र होइन, आवत–जावतदेखि समाजमा हुने हरेक गतिविधिमा सहभागी हुन बञ्चित हुन्छ ।


नेपालमा पहिलोपटक नागरिकता सम्बन्धी ऐन २००९ मा बन्यो । त्यसयता पटक–पटक संशोधन गरिए पनि समयको गति अनुरुप प्रगतिशील देखिँदैन । यसको मूलकारण नीति निर्माणको कुर्सीमा आसिन व्यक्तिमा गडित पितृसत्तात्मक दृष्टिकोणको निरन्तरता हो ।


नागरिकता ऐन २००९ को दफा २ मा नेपाली नागरिक हुन ‘आमाबाबुमा एकजना नेपाल राज्यमा जन्मेको’ हुनुपर्ने व्यवस्था थियो । विदेशीसँंग विवाह भएका महिलाको सन्तानबारे दफा ४ (ख) ‘नेपाली आमाबाबुबाट जन्मेकी स्वास्नीमानिसको विदेशी मानिससंँग वैवाहिक सम्बन्ध भएपछि कुनै कारणले सम्बन्ध तोडिएमा वा परित्यक्त भएमा’ नागरिकता पाउन सकिने व्यवस्था थियो । दफा ४ (ग) अनुसार ‘विदेशमा गई बसोबास गरी विदेशी मुलुकको नागरिकता लिएका र तिनका साथमा आएका सन्तान समेतलाई नेपाल राज्य क्षेत्रमा आई लगातार बसेको एक वर्षपछि’ नेपाली नागरिकता मिल्थ्यो । त्यस समय नागरिकता मूलत: जन्मका आधारमा दिने व्यवस्था थियो ।


२०२० मा ऐन संशोधन गरिएपछि नागरिकता मूलत: वंशका आधारमा दिन थालियो । तर महिलालाई वंश ठानिएन । नागरिकता ऐन २०२० को दफा ३ मा वंशजको नागरिकता व्यवस्था गर्दै भनियो, ‘कुनै व्यक्तिको बाबु निजको जन्म हुँदा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नागरिक हुन्छ ।’


२०४७ को संविधानको धारा ९ (१) मा ‘कुनै व्यक्तिको बाबु निजको जन्म हँुदा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नागरिक हुनेछ’ भनियो । धारा ९ (६) ले नेपाली नागरिकको छोरा, छोरी वा वंशजको हकमा त्यस्तो व्यक्तिले नेपालमा दुई वर्षसम्म बसोबास गरेको भए कानुनद्वारा निर्धारित अवस्थामा र सर्तमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ’ भन्यो । त्यही अनुसार २०४८ मा नागरिकता ऐन संशोधन गर्दै दफा ६ (३) मा भनियो, ‘नेपालको नागरिकको छोरा, छोरी वा वंशजको कुनै व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्नचाहे तोकिएको अधिकारी समक्ष नेपाली भाषा बोल्न र लेख्न सक्ने, अन्य मुलुकको नागरिकता त्याग गरेको र स्थायी बसोबास गर्ने मनसायले दुई वर्षदेखि नेपालमा बसोबास गरी असल चालचलन भएको निस्सासहित निवेदन दिनुपर्ने’ व्यवस्था गरियो ।


राणाशासन अन्त्यसंँगै नेपाली महिलाले प्राप्त गरेको वंशजको अधिकार पञ्चायतले खोस्यो । प्रजातन्त्रवादीले बनाएको २०४७ को संविधानले पनि आमालाई वंश मानेन । २०४६ मा राजनीतिक प्रणाली र सत्ता फेरिए पनि बाबुमात्र वंश ठान्ने पितृसत्ताको मूलजरा हल्लन सकेन ।


अन्तरिम संविधान २०६३ ले आमाको वंशीय हक स्थापना गर्ने भन्दै धारा ८ को उपधारा २(ख) मा ‘कुनै व्यक्तिको जन्म हँुदा निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ’ भनियो । तर उपधारा ७ मा ‘कुनै महिलाले विदेशी नागरिकसंँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीको हकमा निजको नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको नागरिकताका आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई तोकिए बमोजिम अंगिकृत नागरिकता प्रदान गर्न सकिनेछ’ भनियो । यसले वंशको हकबाट बञ्चित गर्‍यो ।


अन्तरिम संविधानका आधारमा संशोधन गरिएको नागरिकता ऐनको दफा ३ मा ‘कुनै व्यक्तिको जन्म हुँदा निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ’ भनियो । दफा ५ (२) मा गएर उक्त अधिकारलाई प्रतिबन्ध लगाउँदै ‘विदेशी नागरिकसँंग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीका हकमा निजको नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने तोकिए बमोजिम अंगिकृत नागरिकता प्रदान गर्न सकिनेछ’ भनियो । दफा ५ (३) मा आमाको नागरिकताको प्रतिलिपि, नेपालमा जन्म भई स्थायी बसोबास गरेको स्थानीय निकायको सिफारिस र बाबुको नागरिकताको आधारमा विदेशी नागरिकता नलिएको निस्सा पेस गुर्नपर्ने भनियो । यो सम्भव छैन । यो व्यवस्था २०४८ को भन्दा कठोर हो । यहीं जन्म भएर यहीं बसोबास गरेको हुनुपर्ने र बाबुको देशको नागरिकता नलिएको निस्सा पनि पेस गर्नुपर्ने व्यवस्था आमाका सन्तानलाई नागरिकता दिइँदैन भनिएको हो ।


पहिलो संविधानसभाले नागरिकता सम्बन्धी व्यवस्थामा कठोर नीति लिने र अविभेदको सिद्धान्तमा आधारित हुने सिद्धान्त पारित गरेको थियो । त्यही अनुसार मस्यौदा गरियो । तर दोस्रो संविधानसभाले महिला विरुद्ध विभेदपूर्ण व्यवस्था गर्‍यो । नेपाली बाबुले स्वतन्त्र नागरिकको हैसियतमा निर्भीकतापूर्वक सन्तानलाई नागरिक पहिचान दिन सक्छ । तर आमालाई नागरिक पहिचान दिने सन्दर्भमा स्वतन्त्र नागरिकको रूपमा स्वीकार गरिएन । स्वेच्छापूर्वक विवाह गरेकालाई नागरिक पहिचानमा समेत विभेद गरियो ।


नागरिकता सम्बन्धी विधेयकमाथि छलफल सन्तानको नागरिकतामा केन्द्रित छ । हरेक नेपाली सन्तानले आमा वा बाबुको नागरिकताका आधारमा समान र सहज रूपमा नागरिक पहिचान प्राप्त गर्ने अधिकार सुनिश्चित हुनुपर्छ भन्ने आवाज फेरि गुञ्जायमान छ ।


आधारभूत मानव अधिकारबाट कसैलाई बञ्चित नगरिने भनी अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको मेरो मुलुकमा हजारौं नेपाली आमाका सन्तानले नागरिक पहिचान पाएका छैनन् । उनीहरू आधारभूत मानव अधिकार र मौलिक अधिकार उपभोगबाट बञ्चित छन् । जीवनदेखि निराश हुनेमात्र होइन, आफूप्रति राज्यले गरेको दुव्र्यवहार र आमाप्रतिको विभेदका कारण राज्यसत्ताप्रति आक्रोशित छन् ।


संसदीय समितिमा छलफलका क्रममा रहेको वैयक्तिक गोपनीयताको विधेयकले भन्छ, व्यक्तिको निजी जीवनसंँग सम्बन्धित गोपनीयता र महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी विषय अनतिक्रमय हुनेछ । विधेयकको दफा ४ (१) प्रत्येक व्यक्तिलाई पारिवारिक गोपनीयता कायम राख्ने अधिकार हुनेछ भनिएको छ । सुरक्षित मातृत्व सम्बन्धी विधेयक भन्छ, नवजात शिशुको बाबु वा आमाको नाम राखी जन्मको प्रमाणपत्र दिनु पर्नेछ । बाबुको नाम पहिचान हुन नसकेको वा खुलाउन नचाहेको कारण उल्लेख गर्नु पर्नेछ ।


नागरिकता सम्बन्धी विधेयकले भन्छ– विदेशी नागरिकसँंग विवाह गरेकी नेपाली नागरिक महिलाको हकमा श्रीमानको देशको नागरिकता नलिएको वा त्याग गरेको प्रमाण र नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको पुष्ट्याइँसहित निज वा निजको आमाले स्वघोषणा गर्नु पर्नेछ । अनि अर्कातिर प्रधानमन्त्री भन्दै हुनुहुन्छ, ‘नेपालको हरेक नेपाली नागरिकले अब विना झन्झट नागरिकता पाउँछ । बाबु वा आमा एउटा नेपाली भएपछि उनका सन्तानले वंशजको आधारले नागरिकता पाउँछन् । मैले गृह मन्त्रालयलाई भनेको छु । संविधानमा, कानुनमा हेरफेर गर्नुपर्‍यो भने सकिन्छ ।’ (प्रदेश २ को संसदमा सम्बोधन, भदौ २) राज्यको नीति र कानुनमा अन्तिम निर्णय गर्ने राजनीतिक र प्रशासनिक नेतृत्वमा विज्ञानको आधारभूत ज्ञान ‘हरेक सन्तानमा आमा र बाबु दुवैको वंशाणु बराबर हुन्छ’ भन्ने ज्ञान नभएकै हो ? होइन भने संविधानले नै नागरिकताको आधार वंशीय पहिचान भन्ने स्पष्ट गर्दागर्दै बाबुको रगत वा वंशाणुलाई मात्र कसरी नागरिकताको आधार प्रस्ताव गरिँदैछ ?


नागरिकता सम्बन्धी विधेयकले महिला विरुद्ध विभेद र उनका सन्तानलाई नागरिक पहिचान दिनमात्र समस्या खडा गरेको छैन । सरकारले पेस गरेको यो विधेयक जस्ताको तस्तै पारित हुने हो भने नागरिक पहिचानविहीन बनाइएका नेपाली सन्तानलाई संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक, गोपनीयताको हक, महिलाको हक र बालबालिकाको हक हनन हुनेछ । स्वतन्त्रताको हक, सम्पत्तिको हक, शिक्षा सम्बन्धी हक, भाषा तथा संस्कृतिको हक, रोजगारीको हक, आवासको हक लगायत पनि प्रभावित हुनेछन् ।


आमाको एकल अभिभावकत्वमा हुर्काइएको सन्तान दर्जनांै मौलिक हकबाट बञ्चित हुनेगरी कानुन बनाएर सार्वभौम नागरिकका प्रतिनिधि सरकार र हामी सांसदले कस्तो दायित्व पूरा गरौंला ?
लेखक सांसद हुन् ।

विविधा

पार्टीका खाना कति स्वस्थ ?

महिलाले अलिकति बढी लाउँदा, खाँदा र मनोरञ्जन लिँदा तडक–भडक भयो भनी कोकोहोलो मच्चाउन जरुरी छैन ।
- पविता मुडभरी पुडासैनी

काभ्रेको पाँचखालमा गत शनिबार तीजको दर खाँदा झन्डै चार सयजना बिरामी परे । स्थानीय ग्रामीण स्वावलम्बी बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज कार्यक्रममा केराउको अचार खानेहरू बिरामी भएका थिए ।


तीज पर्वमात्र होइन, विवाह, व्रतबन्ध, पास्नी लगायतका भोजमा खाना खाँदा मानिस बिरामी परेका समाचार बेला–बेला आइरहेकै हुन्छन् । भोजका लागि होटल, रेष्टुराँ र पार्टी प्यालेसमा खुवाइने खानामा प्राय: समस्या देखिने गरेको छ । तर सर्वसाधारणको स्वास्थ्यमा यसरी खेलवाड भइरहँदा नियन्त्रण र निगरानीमा सम्बन्धित निकाय गम्भीर देखिँदैन ।


तीज पार्टीमा छरछिमेक, संघ–संस्था र कार्यालयमा पकाइने खाना प्राय: कमसल हुन्छन् । यसको भुक्तभोगी म पनि हुँ । तीज विशेष कार्यक्रममा ठूलो समूहका लागि तयार पारिने मासु, पुलाउ, तरकारी तथा मिठाइ प्राय: सडेगलेका हुन्छन् । सरसफाइमा ध्यान दिइएको हुँदैन । कतिपय महिला आफ्ना बालबच्चा लिएर यस्ता पार्टीमा पुगेका हुन्छन् । अखाद्य परिकार खानाले ती बालबच्चाको समेत स्वास्थ्यमा असर पर्छ । पार्टी प्यालेस, होटलहरूले चाडपवको अवसर पारेर बासी, दूषित र मिसावटयुक्त खाद्य परिकार खुवाउने प्रवृत्ति रोक्न सरकारले ध्यान दिनुपर्छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच वर्षअघि तीजका नाममा तडक–भडक गर्नेलाई जरिवाना लिने सामाजिक सुधार ऐन २०३३ लागू गर्ने भनेको थियो । पार्टी प्यालेस तथा होटल बुक गरेर महिनादिन अघिदेखि महँंगा खान्की तथा कपडा र गरगहनामा महिलाले अत्यधिक खर्च गरेको भन्दै अख्तियारको आँखा दरको चढ्दो आर्थिक खाकातिर समेत मोडिएको थियो । त्यसपछि पार्टी प्यालेसमा भेला भई दर खाने कार्यक्रम केही समय मत्थर देखियो । तर आआफ्नो कार्यस्थल र गाउँ/टोलमा महिला भेला भई सामुहिक दर खाने कार्यक्रम रोकिएन ।


तीज कार्यक्रम महिलाले कपडा र गहना प्रदर्शन गर्ने माध्यम बनेको छ । राजनीतिक दलहरूका लागि प्रचार–प्रसारको माध्यम पनि हो । तीजमा गीत–संगीतको व्यापार उकालो लाग्छ ।


चन्दा उठाएर होस् वा आफू–आफू बीचमै रकम संकलन गरेर, सामुहिक रूपमा दर खाने र नाचगान गर्ने चलन सहर–बजारबाट गाउँमा पनि फैलँदैछ । कनीकुथी केही रकम जम्मा गर्दै आलोपालो आफन्तकहाँ दर खान जाने र रमाइलो गर्ने प्रचलन बढ्दैछ । तीज समाज, देश र विदेशसम्मै पिँmजारिन पुगेको छ । तीजमा दिदीबहिनीलाई माइती बोलाएर मिठो–मसिनो खुवाउने र घर फर्कने बेला कपडा किनेर पठाउने चलन परम्परादेखिकै हो । गीतै छ नि,
आमाले पकाएको मिठो दर
माइती पुगी खानेछ रहर
बुबाले किन्देको सारी
लगाइ नाच्छु सबैको मेख मारी
जागिरे महिला बढ्दैछन् । उद्योग, व्यापार व्यवसाय तथा राजनीतिमा महिला संलग्नता बढेको छ । महिला स्वावलम्बी बन्दैछन् । गाउँघरमा पशुपालन तथा खेतीपाती गरी महिलाले आर्जन गर्छन । सहर–बजारमा मकै पोल्नेदेखि तरकारी बेच्ने, कपडा सिलाउने तथा भवन निर्माणका कार्यमा सघाउने लगायत सीप तथा श्रमजन्य काममा महिला क्रियाशील देखिन्छन् । राजनीतिक चेतना पनि बढेको छ । पर्वका बेला महिलाले अलिकति बढी लाउँदा, खाँदा र मनोरञ्जन लिँदा तडक–भडक बढ्यो भनी कोकोहोलो मच्चाउन जरुरी छैन । बरु खानपानको स्वच्छता र स्वस्थताका लागि सजग गराउनुपर्छ । पार्टी प्यालेस तथा होटलहरूमा अनुगमन गर्नुपर्छ । सरकारले महिलालाई तीज पेस्की उपलव्ध गराउने व्यवस्था जरुरी छ ।


महिला सभ्यता पहिचान र संस्कृति संरक्षणका पहरेदार हुन् । तीज मान्ने परम्परामा परिवर्तन देखिए पनि तीजको धार्मिक आस्था हिन्दु महिलामा उत्तिकै छ । पतिभक्तिको पर्व भन्दै तीज पर्वप्रति टिप्पणी गर्नेहरू पनि छन् । तर तीज हिन्दु महिलामा मात्र सीमित नभई सबै महिलाको साझा पर्व बन्दै जाँदैछ ।

[email protected]

विविधा

देखासिकीले गाँजेको तीज

- उषा थपलिया


तीजले महिलाको मानवीय गरिमा र स्वतन्त्र अस्तित्व स्थापनामा भूमिका खेलेको छैन ।
के ही वर्षयता हिन्दु धार्मिक मान्यता र तरिकाभन्दा बेग्लै किसिमले तीजका भड्किला पक्ष विस्तार हुने क्रम बढ्दो छ । धार्मिक पर्व अन्तर्गतका विधि–व्यवहारभन्दा तामझाम र देखासिकी चरित्र बढी मिसिन थालेका छन् । अघिल्लो वर्षको तुलनामा विकृति हरेक साल बढ्दै जानु दु:खद हो ।


पार्वतीको तीज व्रतका प्रभावले भगवान शिव र पार्वतीबीच वैवाहिक सम्बन्ध स्थापित भएको हिन्दु धार्मिक मान्यता छ । यसका आधारमा विवाहित महिलाले पतिको दीर्घायु र प्रगति अनि अविवाहित नारीले असल पति पाउन निराहार व्रत बसी तीज मनाउने गरियो । विशेषत: महिलाको पर्वका रूपमा समाजभित्र यसको परिपालना हुँदै आएको छ । लगातार चार दिनसम्म फरक–फरक विधि पूरा गरी तीज सम्पन्न गर्ने चलन थियो । अहिले रमाइलो गर्ने, हैसियत देखाउने नाममा महिनादिन अघिसम्म तन्किएको छ । यसै मेसोमा अनेक विकृति भित्रिएका छन् ।

 

दरको विकृत रूप
तीजमा दरको महत्त्व विशेष मानिन्छ । २४ घन्टाभन्दा बढी समय पानी पनि नपिई व्रत बस्ने चलन छ । अघिल्लो दिन राति १२ बजेअघि सात्विक भोजन दर खाने गरिन्छ । शरीरलाई बोझिलो नबनाउने र धार्मिक नियम भंग हुन नदिने दूध र दुग्धजन्य पदार्थको बाहुलता दर पाक्ने गथ्र्याे । त्यो स्वास्थ्यका निम्ति लाभदायक हुन्थे । अहिले महिनादिन अघिदेखि पार्टी प्यालेस र होटलमा धार्मिक हिसाबले बर्जित खाने–पिउने संस्कृति दरका रूपमा मौलाइरहेको छ । त्यसले तीजलाई धार्मिक पक्षबाट अलग गर्दै लगेको बुझ्न गाह्रो छैन । हुने–खाने वर्गले तीजको जमघट भन्दै इष्टमित्र, नातेदारका लागि पार्टी आयोजना गर्ने, उपहार तथा नगद वितरण गर्ने परिपाटी बढिरहेकै देखिन्छ । यसले न्यून आय भएका परिवारलाई हीनताबोधतर्फ धकेल्छ ।

 

महिला सेन्टिमेन्ट
तीज जमघटमा लुगा, गरगहना प्रदर्शनको होडबाजी हुने गर्छ । उपभोक्ताको सेन्टिमेन्टलाई बन्धक बनाएर सामान उत्पादन गर्ने कम्पनीहरू तीजमा जति अरु चाडमा सायदै मोटाउलान् । महिना दिनभन्दा बढी प्रत्येक पसलमा महिला खरिदकर्ताको घुइँचो देखिन्छ । तीजका लागि महिलाले खरिद गर्ने अधिकांश सामग्री अन्य देशबाट आयात हुने हो । हरेक वर्ष ‘नयाँपन’को विगुल बजाएर कमाउ स्वार्थ पूरा गर्ने विदेशी उत्पादकका लागि नेपाली महिला भरपर्दा ग्राहक हुने गरेका छन् । आफ्नो हैसियत प्रदर्शनकै लागि हरेक वर्ष महिलालाई शिरदेखि पाउसम्मका लुगा, गहना, व्याग, जुत्ता, टीका, चुरा, पोते नयाँ चाहिन्छ ।


उत्पादक र बिक्रेताले दाबी गरेको फरक स्टाइल, गुणस्तर आदिको मोहजालमा महिला यति अन्धोभक्त बनिदिन्छन् कि जतिसुकै उच्च मूल्य चुकाउन पछि पर्दैनन् । यसको साइनो भ्रष्टाचारसँंग समेत जोडिन आइपुग्छ । चम्किला लुगा र गरगहना प्रदर्शनको होडले तीज विकृत बन्दै गएको जहीं–तहीं देखिन्छ । जस्तो– आफैमा बोझिलो देखिने ठूलो झुत्तो पोतेसहितको छड्के तिलहरी अधिकांश महिलाको तीज पहिचान धेरै वर्ष अघिदेखि बन्दै आएको छ । गर्धनमा बत्तुको जुइनो र कम्मरमा सुनको भाग पारेर लगाउने चलन फेरिएर अहिले सुनको भाग गर्धनमा र जुइनो कम्मरमा आइपुगेको छ । यस्तो शैलीको उद्देश्य गहना प्रदर्शन बाहेक केही हैन ।

 

न्यून वर्गलाई विशाद
निम्न वर्गलाई पनि चित्त बुझाउने सामग्रीले बजार भर्न उत्पादक त्यत्तिकै सफल देखिन्छन् । ‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ नारा अघि सारेर पित्तलका गरगहनाको धन्दा व्यापक बन्नु यसैको परिणति हो । उत्पादकको नारामा लट्ठिँदै सुनको अनुपातमा निकै सस्तो ठानेर बहुसंख्यक महिला तत्कालीन देखासिकी टार्न त्यस्ता नक्कली सामान किन्ने गर्छन् । तर ६ महिना नटिक्ने गुणस्तरहीन धातुमा खन्याएको मूल्य सबै स्वाहा हुनेतर्फ ध्यान पुगेको देखिँदैन । जुनसुकै सामग्रीमा तिरेको एक रुपैयाँको समेत छुट्टै महत्त्व हुन्छ । उत्पादकहरूले उपभोक्ताको पैसालाई मूल्यहीन बनाइरहेको तथ्य कहिले बुझ्ने महिलाले ? यी सबै गरेर हैसियत माथि उठेको तथ्य स्थापित हुने भए ठिकै हो । तर न्यून वर्गकाले सुन लगाए पनि पित्तल ठान्ने र उच्चहरूले पित्तलै लगाए पनि सुन देख्ने सामाजिक दृष्टिदोष छ भने किन नचाहिँदो होडबाजीमा संलग्न हुने ?

 

महिला अस्तित्वको सवाल
तीज मनाउने शैलीबाट महिलाको मानव अधिकार र स्वतन्त्र अस्तित्व स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याए जसरी बुझ्ने गरिन्छ । तर तीज नितान्त धार्मिक पक्षसंँग जोडिएको पर्व हो । यसले महिलाको मानवीय गरिमा र स्वतन्त्र अस्तित्व स्थापना गर्न भूमिका खेलेको छैन । आफ्नो स्वास्थ्यलाई परवाह नगरी महिलाले आफ्नो नभई पतिको दीर्घायुका लागि कडा व्रत बस्नुपर्ने मान्यता फेरिएको छैन । सबै महिला यस मान्यताप्रति विश्वस्त नहुन सक्छन्, तर व्रत बस्दिन भन्ने छुट उनीहरूलाई हुँदैन । पति बितेर गएका महिलाका हकमा समेत यो व्रत जीवनभर रहन्छ । अरु चाडपर्व मनाउने क्रममा परिवार भित्रका महिला–पुरुष सबैको सहभागिता देखिन्छ । तर तीजले पुरुषप्रति महिलाको एकतर्फी समर्पणलाई मात्र बढावा दिएको प्रस्टै छ ।



विचारणीय पक्ष
अहिले तीज हिन्दु महिलाको एकलौटी चाडको रूपमा छैन । अन्य धर्मावलम्बी र विदेशी महिला पनि आकर्षित छन् । यो राम्रो पक्ष हो । धार्मिक पक्षको महत्त्व हुन्छ । त्यसको अवलम्बन त्यही अनुरुप हुनु जरुरी छ । तर समय अनुसार विकसित हुने विवेक र चेतनाले अनुचित ठानेको पक्ष आँखा चिम्लेर पालना गर्नुपर्छ भन्ने छैन । उतिबेला शिक्षा र चेतना अभावले महिलासंँग जोडिएका धार्मिक विषय उचित र अनुचित छुट्याउने र त्यही अनुसार ग्रहण गर्ने स्थिति थिएन । गुरु पुरोहितले जे कुरालाई उचित ठहर्‍याउँथे, त्यसको हुबहु पालना गर्नु महिलाको धर्म/कर्तव्य हुनआउँथ्यो । अहिलेका महिलाको अभिभारा त्यतिले सकिँदैन । परिवर्तित समयमा नमिल्दा कुरा हटाएर धार्मिक/सांस्कृतिक पक्षको जगेर्ना गर्नुपर्छ । हाम्रा चिनारीका आधार–स्तम्भ तिनै पक्ष हुन् । महिलाका लागि परम्पराले कडाइ गरेका अभ्यासलाई खुकुलो बनाउँदै तीजलाई धार्मिक पर्वकै रूपमा मनाउनुपर्छ ।

Page 8
कला र शैली

हरिभक्तको सम्झना

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कवि/गीतकार हरिभक्त कटुवालको ३८ औँ स्मृति दिवस पारेर चितवनमा स्रष्टा र साहित्यप्रेमीहरूले उनको सम्झना गरेका छन् । हरिभक्तका कविताहरूको वाचनका साथै पुरु लम्साल निर्देशित वृत्तचित्र ‘अनि हरिभक्त फर्किएनन्’ को प्रदर्शन पनि गरिएको छ ।


कविडाँडा साहित्य समाजद्वारा आयोजित समारोहमा कवि/निबन्धकार भूपिनले हरिभक्त गीत र कविता दुवैमा सशक्त रूपमा कलम चलाउन सक्ने खुबी भएका साहित्यकार भएको बताए ।
वरिष्ठ निबन्धकार रामबाबु घिमिरेले हरिभक्तलाई आफूले नयाँ पुस्तालाई प्रेरण दिने कविका रूपमा पाएको सुनाए । ‘उहाँले हामीलाई अभिनय पनि सिकाउनुभयो,’ २०३२ सालमा ‘बसाइँ’ नाटक मञ्चनको सन्दर्भ जोडदै उनले भने, ‘हरिभक्त बहुआयामिक व्यक्ति हुनुहुन्थ्यो ।’


समारोहमा सरिता तिवारी, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलिया, सरला रेग्मी, चेतराज रेग्मी, विजय विश्वकर्मा र रामकृष्ण अनायासले हरिभक्तका विभिन्न कविता वाचन गरेका थिए ।
१९९२ सालमा भारतको असममा जन्मिएका हरिभक्तको अल्सर र क्षयरोगका कारण ४५ वर्षको अल्पायुमै २०३७ साल भदौ २५ मा असमको डिब्रुगढ अस्पतालमा निधन भएको थियो । उनले आफ्नो जीवनको ऊर्जाशील समय नेपाली साहित्य लेखनमा खर्चिएका थिए ।

कला र शैली

सुमनका गीत

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ‘अच्छा लेकिन क्या बात’, ‘सिरीमा सिरी’, मेरो धडकन तिमी’, ‘कहिले ओराली झर्छ जिन्दगी’ जस्ता गीतहरूमार्फत श्रोतामनमा बसेका गीतकार सुमन श्रापित गीत संग्रहसहित आएका छन् ।


‘भावनाको खेती’ हालै सार्वजनिक भएको हो । १ सय २८ गीत समेटिएको उक्त संग्रह हिउँखोली प्रकाशन गृहले छापेको हो । उक्त संग्रहलाई छापिनुअघि नै गीतकार संघले ५० हजार रुपैयाँसहित ‘वर्ष गीत पुरस्कार’ प्रदान गरेको थियो ।


‘रेडियोले मलाई गीतकार बनायो,’ बागलुङको तित्याङमा जन्मेर पोखरामा कर्म गर्दै आएका सुमनले भने, ‘रेडियोमा बज्ने गीत सुनेर नक्कल गर्दागर्दै गीतसंगीतमा डुबें ।’


सानैदेखि साहित्य र संगीतमा लागे पनि पोखरा पुगेपछि यसले सही गति लिएको बताए । ‘सुधा’, ‘संकल्प’, ‘शुभयात्रा’, ‘धुमधाम तीज’, ‘पूर्णिमाको रात’ लगायतका एकल एल्बम निकालिसकेका उनका डेढ सयजति गीत रेकर्ड भइसकेका छन् । दुई दर्जन गीतमा उनकै स्वर र संगीत पनि सुन्न सकिन्छ ।


२०५६ मा संयुक्त कविता संग्रह ‘विछोडको वेदना’ निकालेका उनले पोखराको गीति इतिहासलाई लिपिबद्ध गर्ने काम गरे, ‘पोखरामा फुलेका सुनाखरीहरू’ शीर्षकमा । त्यसमा पोखराका २०० भन्दा बढी गीतकारका गीत समेटिएका छन् । उनी ‘म्युजिक मुभी’ पत्रिका पनि निकाल्ने गर्छन् ।

कला र शैली

“स्वेच्छाचारी बन्दै” चलचित्र बोर्ड

- सुशील पौडेल
अश्लीलताका मामिलामा हामी फिल्ममेकर पनि जिम्मेवार हुन्छौं । त्यसमाथि युटयुबले पनि अपलोड गरिने भिडियोलाई सेन्सरै गरेको हुन्छ । चलचित्र विकास बोर्ड जस्तो मर्यादित संस्थाले मैले गर्दै नगरेको गल्तीका लागि कारबाही गर्न मिल्छ ? - संगीता श्रेष्ठ, निर्देशक, ‘कथा काठमाडौं’

 (काठमाडौं) - फिल्मकर्मीहरूले एकातिर फिल्मकर्मी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्ने माग गर्दै आइरहेका छन् भने अर्कातर्फ बोर्ड स्वेच्छाचारी बन्दै जान थालेको आरोप पनि लगाइरहेका छन् । चलचित्र दर्तादेखि जाँचपासका लागि स्वीकृति प्रदान गर्नेसम्मको अधिकार बोकेको बोर्ड पछिल्लो समय दायराबाहिर जान थालेको तिनको तर्क छ ।


राजकुमार राई अध्यक्ष रहँदा बोर्डले गणेशदेव पाण्डे निर्देशित ‘गाजाबाजा’ फिल्मको नाममा आपत्ति जनाउँदै जाँचपासका लागि अनुमति दिन नमान्दा विवाद उत्पन्न भएको थियो । राईले नाममा पहिले राखिएको ‘गाँजा’ शब्दमा अडको थापेर लामो समय सेन्सरमा अड्काएका थिए । उनै राईले आफ्नो कार्यकालमै युटयुबमा राखिने नेपाली कन्टेन्टमा सेन्सर लगाउने अभिव्यक्ति दिएका थिए । यति बेला आएर बोर्डले ‘कथा काठमाडौं’ फिल्मको प्रोमोलाई अश्लील भन्दै हटाउन निर्माण पक्षलाई पत्राचार गरेको छ । बोर्ड अध्यक्ष निकिता पौडेलद्वारा हस्ताक्षरित पत्रमा सम्बन्धित ब्यानरलाई सम्बोधन गर्दै ‘कथा काठमाडौं’ को प्रोमो युटयुबमा अश्लील दृश्यसहित प्रदर्शन भइरहेकोले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै भनिएको छ, ‘यस प्रकारको प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकोले यथाशीघ्र प्रोमो हटाई सोको लिखित जानकारी बोर्ड समक्ष पेस गर्न जानकारी गराइन्छ ।’

 

‘कथा काठमाडौं’ को आधिकारिक कन्टेन्ट प्रवाह गर्ने युटयुब च्यानल हाइलाइट्स नेपाल भए पनि बोडले उक्त पत्रमा वेभ लिंकसहित उल्लेख गरेको कन्टेन्ट भने अनधिकृत रूपमा राखिएको दृश्य सामग्रीको हो ।


‘कन्टेन्ट अरू कसैले तानेर हाल्छ भने त्यसको जिम्मेवारी हाम्रो फिल्मले लिन सक्दैन,’ ‘कथा काठमाडौं’ की निर्देशक संगीता श्रेष्ठले बोर्डको पत्रमा आपत्ति जनाउँदै भनिन्, ‘चिठी नै नपठाए पनि अश्लीलताका मामिलामा हामी फिल्ममेकर पनि आफैंमा जिम्मेवार हुन्छौं । त्यसमाथि युटयुबले पनि अपलोड गरिने भिडियोलाई सेन्सर नै गरेको हुन्छ । त्यत्रो मर्यादित संस्थाले मैले गर्दै नगरेको गल्तीका लागि कारबाही गर्न मिल्छ ?’


अश्लील भन्ने आधारमाथि प्रश्न तेस्र्याउँदै श्रेष्ठले थपिन्, ‘बरु आपत्तिजनक हुन सक्ला । तर अश्लील भन्ने आधार के छ ? जब कि उक्त प्रोमो हलमा समेत बजिरहेको छ ।’
बोर्ड अध्यक्ष पौडेलले भने आफूलाई सञ्चार मन्त्रालयबाटै कारबाही गर्न आदेश पत्र आएपछि बाध्य भएको कान्तिपुरसँग बताइन् । ‘प्रोमो अश्लील भएको सम्बन्धमा प्रधानमन्त्री कार्यालयबाट सञ्चार मन्त्रालय हुँदै बोर्डलाई कारबाही गर्नू भन्ने बेहोराको ठाडो पत्र आएको हो,’ पौडेलले युटयुबमा राखिने सामग्रीलाई नियमन गर्ने क्षेत्राधिकार बोर्डसमक्ष नभएको उल्लेख गर्दै भनिन्, ‘बोर्डलाई अप्ठयारो भयो । मन्त्रालयले बोर्डलाई हात बाँधिदिएर टेबलमा राखिएको खाना खा भने जस्तो गरेको छ ।’ पौडेलले मन्त्रालयबाट प्रतिनिधित्व गर्ने बोर्डका सदस्यसचिवलाई कारबाही के गर्न सकिन्छ भनेर सोध्दा ‘बोर्डले फिल्म निर्माण इजाजत दिन सक्छ भने खारेज पनि गर्न सक्छ’ भन्ने जवाफ पाएको खुलाइन् ।


राजधानीका तीन प्रतिनिधि कथालाई बुनेर निर्देशक श्रेष्ठले नै लेखेको कथामा बनेको ‘कथा काठमाडौं’ मा समावेश एउटा गीत ‘रातका कुरा...’ र प्रोमोमा समावेश गरिएका केही अन्तरंग दृश्यले यति बेला विवाद निम्त्याएको हो । उक्त दृश्यमा प्रमोद अग्रहरी र प्रियंका कार्की फिचरिङ छन् । यौन पिपासु चरित्रका रूपमा फिल्ममा चित्रण गराईएका प्रमोदले प्रियंकाको इच्छाविपरीत उनीसँग सम्बन्ध राखेका दृश्यलाई विम्बात्मक रूपमा देखाइएको छ ।


‘देशकै नम्बर एक नायिकामा गनिएकी प्रियंकाले त्यत्तिकै यो रोल गरिन् होला त ?’ निर्देशक श्रेष्ठले पत्रकार सम्मेलनमा भनिन्, ‘के उनलाई आफ्नो करिअरको चिन्ता छैन होला ? मलाई
उनको चिन्ता छैन होला ? मैले आफूले चाहेको घरेलु हिंसाविरुद्धको विषयवस्तुमा फिल्म बनाउन किन नपाउने ?’


‘कथा काठमाडौं’ कै ती दृश्य एउटा पोर्न साइटमा समेत अपलोड भएपछि फिल्मको डिजिटल पार्टनर हाइलाइट्स नेपालले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयलाई अनधिकृत अपलोड गर्नेविरुद्ध कारबाहीको माग गर्दै एक महिनाअघि नै निवेदन दिएको थियो । रजिस्ट्रारको कार्यालयले सोही दिन महानगरीय प्रहरी परिसर, टेकुलाई कारबाहीका लागि पत्राचार गरेको थियो ।


‘फिल्मका दृश्यलाई गलत ढंगले प्रयोग गरिँदा हामी आफैं पीडित भई गुहार मागिरहेको अवस्थामा बोर्डको पत्रले घाउमा नुन छर्कने काम गरिदिएको छ,’ निर्देशक श्रेष्ठले दु:खेसो पोखिन् ।


बोर्ड अध्यक्ष पौडेलले भने कारबाहीका लागि बल बोर्डको कोर्टमा आए पनि त्यसलाई सेन्सर बोर्डको जिम्मा लगाउन चाहेको बताइन् । भनिन्, ‘बोर्डको पत्रको जवाफ ‘कथा काठमाडौं’ बाट आइसकेकाले त्यसलाई मन्त्रालयमा जानकारी गराइसकिएको छ । मन्त्रालयबाट के आदेश आउँछ, नत्र बोर्डले चलचित्र जाँचपासको क्रममा हेरेर कारबाही चलाउन सेन्सरलाई नै जिम्मा दिनेछ ।’


‘कथा काठमाडौं’ असोज १२ मा प्रदर्शन हुँदै छ ।

कला र शैली

निम्फ अवार्डमा १४ फिल्म

- कान्तिपुर संवाददाता

न्युयोर्क (कास)– आदिवासी विषय, समाज र संस्कृतिमाथि बनेका नेपाली फिल्म केन्द्रित रहेर अमेरिकामा हुँदै आएको नेपाल आदिवासी फिल्म महोत्सव (निम्फ) का लागि ९ फिचर फिल्म, ३ सर्ट फिल्म र २ डकुमेन्ट्री छनोटमा परेका छन् ।


नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) ले गर्दै आएको यो फिल्म महोत्सव मुलुकबाहिर हुने सबैभन्दा ठूलो नेपाली आदिवासी फिल्म महोत्सव हो । यही सेप्टेम्बर १५ र १६ मा हुने महोत्सवको दोस्रो संस्करणका लागि सबै तयारी पूरा भएको आयोजकले बताएको छ ।


फिप्नाले न्युयोर्कको ज्याक्सन हाइटस्थित मुस्ताङ किदुङको कार्यालयमा पत्रकार सम्मेलन गरी अवार्डमा छानिएकाको सूची सार्वजनिक गरेको हो । फिचर, सर्ट र डकुमेन्ट्री फिल्मका लागि आवेदन परेका ४६ फिल्ममध्ये पहिलो चरणमा २४ वटा छनोट गरिएको र तीमध्ये पनि हरेक समुदायसँग सम्बन्धित संस्थाहरूद्वारा गठित जुरीबाट अन्तिम सूची निकालिएको विज्ञप्तिमा उल्लेख छ । छनोटमा परेका फिल्ममा गुरुङ समुदायबाट सुवास गुरुङ निर्देशित ‘भेडीगोठालो’, तामाङ समुदायबाट रोशन फयुबाको ‘सेम कि तम’, नेवार समुदायबाट अमृतमान महर्जनको ‘स्वयनगु’, मगर समुदायबाट मेजन पुनको ‘रैया’, राई समुदायबाट वीरबहादुर राईको ‘यारी’, शेर्पा समुदायबाट आङ कुंगा ङिमा शेर्पाको ‘टिन्छेन फमा’, लिम्बू समुदायबाट किशोर सुब्बाको ‘साम’, मनाङ समुदायबाट खुसबहादुर गुरुङको ‘मनांगे नानी’, याक्खा समुदायबाट अरुण प्रधानको निर्देशन रहेको ‘ओम्ला’ छन् ।


यी फिल्ममध्येबाट १२ विधामा निम्फ अवार्ड दिइनेछ । उत्कृष्ट फिल्म, अभिनेता, अभिनेत्री, कथा, भेषभूषा, निर्देशक, छायांकन, अभिनय कला, संगीतलगायत अडियन्स च्वाइस अवार्डलाई नगद पुरस्कार दिइनेछ । विज्ञप्तिअनुसार, उत्कृष्ट फिल्मलाई १ लाख २५ हजार रुपैयाँ, उत्कृष्ट लघु फिल्म र उत्कृष्ट डकुमेन्ट्रीलाई जनही ३१ हजार रुपैयाँ दिइनेछ । अवार्डलाई निष्पक्ष र विवादरहित बनाउन फिल्म, सञ्चार, अधिकारकर्मी तथा कला र संस्कृति क्षेत्रमा आवद्ध जुरी बनाइएको छ । सञ्चारकर्मी शैलेश श्रेष्ठ संयोजक रहेको जुरीमा शम्भु मोक्तान, रोज लामा, लीला राई, छिरिङ रिञ्जिन गुरुङ छन् । त्यसैगरी लघु फिल्म र डकुमेन्ट्रीका लागि फिप्ना संघीय परिषदका सभामुख विनोद पोमोको संयोजकत्वमा मच्छेदेवी गुरुङ र ङिमा पाख्रिन रहेको जुरी बनाइएको छ ।


फिप्नाका महासचिव प्रेम गुरुङका अनुसार महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा कला र संस्कृति झल्कने मनोरञ्जनात्मक प्रस्तुतिसमेत देखाइनेछन् । दर्शकको मतका आधारमा उत्कृष्ट प्रस्तुति गर्ने समूहले ५ सय डलरको पुरस्कारसमेत पाउनेछ ।

कला र शैली

“बुलबुल” फागुनमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नायिका स्वस्तिमा खडका टेम्पो चालकको भूमिकामा देखिँदै गरेको खबर बाहिरिएपछि ‘बुलबुल’ यति बेला प्रतीक्षित फिल्मको पंक्तिमा उभिएको छ । त्यसो त फिल्ममा अर्की कलाकार लक्ष्मी बर्देवा पनि टेम्पो चालककै भूमिकामा छिन् । पात्र चरितार्थका लागि दुवैले महिना दिन टेम्पो चलाउन सिकेका पनि थिए । यति बेला भने ‘बुलबुल’ छायांकन सकिएर पोस्ट प्रोडक्सनको चरणमा पुगेको छ । फागुन ३ मा रिलिज हुँदै छ यो फिल्म ।


विनोद पौडेल निर्देशित फिल्मको छायांकन २५ दिनमा सकिएको हो । एउटा गीत भने खिच्न बाँकी रहेको निर्देशक पौडेलले बताए । ‘गीतका लागि मौसम सफा चाहिने भएकोले हामी त्यसैको प्रतीक्षामा छौं । सम्भवत: दसैं–तिहारको बीचमा खिच्छौं,’ उनले भने । यसअघि ‘साँघुरो’ को पटकथा लेखिसकेका पौडेलको ‘बुलबुल’ पहिलो निर्देशन हो ।


निर्माता अविरल थापाले फिल्म भ्यालेन्टाइन्स डेको छेको पारेर फागुन ३ मा रिलिज गरिने जनाए । ‘डायस्पोरामा प्रिमियर गरेर बल्ल सार्वजनिक प्रदर्शन थाल्ने सोचअनुरूप फागुनको समय राखेका हौं,’ उनले भने ।


फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे लगायतको अभिनय छ । सुसन प्रजापतीको छायांकन रहेको फिल्म निर्देशक पौडेलले नै लेखेका हुन् । फिल्ममा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतले गाएका छन् । फिल्म पुरुषोत्तम पाण्डे, अविरल थापा, भीम थापा र राजु पौडल मिलेर बनाएका हुन् ।

कला र शैली

कामना फिल्म अवार्डको मनोनयन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सीजी कामना फिल्म अवार्डस्को चौथो संस्करणको मंगलबार विधागत उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गतवर्षभर सार्वजनिक प्रदर्शनीमा आएका नेपाली फिल्मबाट ३१ विधामा अवार्ड प्रदान गर्ने सीजी कामनाले यसपटक ‘छक्का पन्जा २’ लाई सर्वाधिक १४ विधामा मनोनीत गरेको छ । फिल्मसहित ‘छक्का पन्जा २’ बाट निर्देशनमा दीपाश्री निरौलासहित अभिनेता, हास्य कलाकार, सहअभिनेता, सहअभिनेत्री, नव अभिनेता, पटकथा, संवाद, छायांकन, सम्पादन लगायतका महत्त्वपूर्ण विधामा परेको हो । तर सोही फिल्म उत्कृष्ट फिल्म विधातर्फ भने अटाउन सकेको छैन । हास्य कलाकार विधामा ‘छक्का पन्जा’ बाटै केदर घिमिरे र जयनन्द लामा मनोनयमा राखिएको छ ।


उत्कृष्ट फिल्मतर्फ भने १३ विधामा परेको ‘कृ’ ले ‘ब्लाइन्ड रक्स’, ‘घामपानी’, ‘लिलीबिली’ र ‘शत्रु गते’ सँग प्रतिस्पर्धा गर्ने भएको छ । निर्देशकतर्फ दीपाश्रीको भिडन्त मिलन चाम्स, नवल नेपाल, प्रदीप भट्टराई र सुरेन्द्र पौडेलसँग हुने भएको छ । दीपकराज गिरी, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, प्रदीप खडका र पुष्प खडका अभिनेतातर्फको विधामा मनोनयमा पर्दा अभिनेत्रीतर्फ बेनिसा हमाल, मेनुका प्रधान, निता ढुंगाना, प्रियंका कार्की, सारा सिरपाली र शिल्पा पोखरेल गरी ६ जना परेका छन् । गतवर्ष मात्रै ‘रुद्र’ फिल्मबाट डेब्यु गरेकी सारा उक्त फिल्मबाट नवअभिनेत्रीमा मनोनयनमा पर्दा ‘पिँजडा ब्याक अगेन’ बाट भने उत्कृष्ट अभिनेत्रीको विधामा पनि अटाएकी हुन् । मनोनयनमा ११ विधामा आएको ‘ए मेरो हजुर २’ बाट झरना थापा र सलिनमान बानियाँ क्रमश: नवनिर्देशक र नवअभिनेतामा परेका छन् । त्यसैगरी ‘लिलीबिली’ १० र ‘शत्रु गते’ तथा ‘मंगलम्’ समान नौ–नौ विधामा मनोनीत भएका छन् ।


यस वर्षको अवार्डअन्तर्गत सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री विधामा तीव्र प्रतिस्पर्धाका कारण उत्कृष्ट ६ को नाम अगाडि आएको छ भने सारा सिरपाली रुद्रबाट नवअभिनेत्री र पिँजडा ब्याक अगेनबाट अभिनेत्रीको प्रतिस्पर्धामा छिन् । त्यसैगरी कोरियोग्राफर कविराज गहतराज भने उत्कृष्ट नृत्यनिर्देशकको उत्कृष्ट पाँचमध्ये चार फिल्मबाट परेका छन् भने उनको प्रतिस्पर्धा केवल मिलन चाम्ससँग मात्रै हुनेछ । अवार्डमा एक लाख रुपैयाँसहित कीर्तिमय दीर्घ योगदान सम्मान पनि दिइनेछ भने निर्णायकका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

कला र शैली

बहुभाषी कवि गोष्ठी

- कान्तिपुर संवाददाता

सुनसरी (कास)– बहुभाषिक मुलुकमा सबै जातजातिको भाषा साहित्यको विकास गर्दै संरक्षण गर्ने उद्देश्यले धरान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बहुभाषिक कविता गोष्ठीमा पाँच जना पुरस्कृत भएका छन् ।


सहभागीहरूले आआफ्ना मातृभाषापछि नेपाली भाषामा वाचन गरेका बेला भाव, शिल्प र प्रस्तुतिलाई आधार मानेर हेनसेन याख्खा, घनेन्द्र लिम्बू, चोङहाङ राई, सुसा कदम र पुनम शेर्पा उत्कृष्ट भएका थिए । उनीहरूलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरियो ।


प्रतिष्ठानका सदस्यसचिव गोपाल देवानका अनुसार, धरानमा रहेका भाषा, संस्कृतिलाई जीवन्तता राख्न धरान उपमानगरपालिकाले गठन गरेको धरान प्रज्ञा प्रतिष्ठानले कविता गोष्ठी गरेको हो । गोष्ठीमा विभिन्न जातीय समुदायका १९ कविले कविता वाचन गरेका थिए ।
धरानमा ८१ जाति बस्ने र उनीहरूका अलगअलग मातृभाषा भए पनि सबैको सहभागिता नभएका कारण कविता गोष्ठीमा सात भाषाका सिर्जना मात्र वाचन गरिएको प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फेले बताए ।

कला र शैली

महर्जनको एकल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कवि, चित्रकार एवं गायक सुरेन्द्र महर्जन ‘अमर’ एकल सृजना साँझमा उत्रिएका छन् । ओएस नेपालले ललितपुर सातदोबाटोस्थित सुमेरु मार्टमा उनलाई एकल साँझमा प्रस्तुत गरेको हो । कार्यक्रममा उनका एक दर्जन गीतहरू विभिन्न गायक/गायिकाले प्रस्तुत गरे ।
साथै महर्जन रचित गीतहरूको म्युजिक भिडियोहरू पनि देखाइए ।


महर्जनले कोरेका चित्रहरूसमेत प्रदर्शनी गरिएको कार्यक्रममा महर्जनकै कविता, हाइकु, तान्का, मुक्तक पनि सुनाइएको थियो । एन शाक्य, संगीता रायमाझी, सोनी राजभण्डारी, राजु श्रेष्ठ, मुना रोक्का, बबी दाहाल लगायत एक दर्जनभन्दा बढी गायक/गायिकाले महर्जनका सृजना सुनाएका हुन् । अर्का स्रष्टा पुष्पराज बुढाथोकी ‘साउतेली’ महर्जनको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारे । ओएस नेपालका विवेक कार्कीले महर्जनका अहिलेसम्म ‘अमर’, ‘मतिनाया खा’ (नेवारी गीति एल्बम), ‘अद्भुत’ (उपन्यास) लगायतका कृति आफूहरूले प्रकाशित गरेको बताए ।

 

Page 9
कला र शैली

काव्यको तीज गीत

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– गायिका काव्य आचार्यको ‘किन आएनन् माइती लिन..’ तीज गीत सार्वजनिक भएको छ । लीना शर्मा रेग्मीका शब्द र एकनारायण भण्डारीको लय रहेको यो गीतमा आचार्यको आवाज रहेको छ ।


भिडियोसहति सार्वजनिक भएको यो गीतमा मोडलहरू शर्मिला गिरी कोइराला, सपना थापा, रितु बोहरा र प्रशंसा कोइरालाको अभिनय रहेको छ । भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् । विन्ध्यवासिनी म्युजिकबाट सार्वजनिक भएको यो गीतको भिडियोले दर्शकको राम्रै माया पाइरहेको छ ।

 

कला र शैली

बालुवाटारमा तीज उल्लास

- कान्तिपुर संवाददाता
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार मनाइएको तीज कार्यक्रममा सहभागीहरू ।

काठमाडौं - खासमा उनलाई तीजको शुभकामनाका लागि स्टेजमा बोलाइएको थियो । तर, टोखा नगरपालिकाकी उपमेयर ज्ञानमाया डंगोलले कविता सुनाउन थालिन् । पछिल्लो पटक बढदो तडकभडकका कारण तीजको मौलिक पहिचान गुम्दै गएको भन्दै उनले कवितामै व्यंग्य कसिन् । तीज आउनु महिना दिनअघि नै देखासिकी गर्ने सहरियाप्रति उनी कटाक्ष गर्दै थिइन् :
गाउँमा तीज कहिले हो कहिले
सहरमा एक महिना पहिले...
स्थानीय तहका महिला जनप्रतिनिधि, सांसददेखि मन्त्री पत्नीहरूसहितले प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार यसरी तीजमा बढदै गएको विकृतिप्रति चिन्ता जनाए । उनीहरूले तिजको नेपाली परम्परा जोगाउँदै यसलाई विकृत हुनबाट बचाउन घरघरबाट पहल हुनुपर्ने औंल्याए । त्यस्तै चिन्ताकै गीत गाए, नाचे अनि शाकाहारी दर खाए । यसको चाँजोपाँजो मिलाएकी थिइन् प्रधानमन्त्रीपत्नी राधिका शाक्यले । ‘तीज र तिहार भनेको त सबै नेपाली चेलीहरूको पर्व हो,’ दर खाँदै गर्दा सांसद सरिता न्यौपानेले भनिन्, ‘अचेल यो सभ्य हुनबाट अलिक चिप्लिन थालेको छ । तीजको साख हामी आफैँले जोगाउनुपर्छ ।’


कलाकार संगीता लामा नाच्दै गर्दा एकै छिनका लागि आइपुगेका प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालका कारण पछिल्लो पुस्ताको मनोविज्ञानमाथि प्रहार भइरहेको बताए । संगीताले नृत्य गर्दैगर्दा चेली माइतीको भलाकुसारी गुन्जिएको थियो, गीतमै । प्रधानमन्त्रीको चिन्ता भने अहिलेको तीज ‘चेली–माइतीबीचको भलाकुसारी’ भन्दा पर पुगेको प्रति थियो ।


‘हामीले हुर्किंदै गरेको नयाँ पुस्ताप्रति चासो दिन छाडेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अभिभावक भएपछि सन्तानप्रतिको उत्तरदायित्व पनि पूरा गर्नैपर्छ । निश्चित समयसम्म उनीहरूलाई गाइड गर्नुपर्छ । अहिले सामाजिक सञ्जालबाट हाम्रो संस्कृतिमाथि प्रहार गर्ने काम भइरहेको छ । यो एक प्रकारको घुमाउरो हस्तक्षेप हो । हाम्रो मौलिक ज्ञान, परम्परा र संस्कृति जोगाउन यतातिर पनि ख्याल पुर्‍याउनुपर्छ ।’


यसपछि प्रधानमन्त्रीले महिलाहरूलाई व्रत बस्दा आफ्नो स्वास्थ्यको पनि ख्याल पुर्‍याउन सुझाए, समाजमा बढदै गएको महिला हिंसाविरुद्ध आवाज उठाउन पनि तीजको प्लेटफर्म प्रयोग गर्न आग्रह गरे ।


कवि अनिता लामाद्वारा तीजकै सन्दर्भ जोडिएको सिर्जना वाचनसहित सुरु भएको समारोहमा आमाघरकी सञ्चालक दिलशोभा श्रेष्ठ, सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत, बिना बाँस्तोला, शोभा श्रेष्ठ लगायतले तीजलाई नारी विभेदविरुद्धको चाडका रूपमा मनाउन आग्रह गरे ।


‘तीजलाई सांस्कृतिक सद्भावको रूपमा पनि जोड्न सकिन्छ,’ कार्यक्रम संयोजकसमेत रहेकी अनिताले भनिन्, ‘संस्कृति जोगाउने कुरा त छँदै छ,’ उनले आफ्नो रचनामा भने तीजलाई विम्ब बनाएर नारी समानताको वकालत गरेकी थिइन् ।

Page 10
विदेश

ट्रम्पलाई किमको पत्र

दोस्रो वार्ता गर्न आह्वान
आशावादी रहेको अमेरिकी प्रतिक्रिया
- कान्तिपुर संवाददाता

वासिङ्टन (एएफपी)– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दोस्रो वार्ताको आह्वान गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाएका छन् ।


अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले किमको पत्र अत्यन्त सकारात्मक रहेको जनाएको छ । कार्यालयले अमेरिकाले दोस्रो वार्ताको मिति तय गर्न तयारी सुरु गरेको समेत जनाएको छ ।
ह्वाइटहाउसका प्रवक्ता सराह स्यान्डर्सले ‘निकै न्यानो’ पत्रले ‘उत्तर कोरियाले परमाणु नि:शस्त्रीकरणका लागि गरेको प्रतिबद्धता थप प्रस्ट भएको’ जनाइन् । ट्रम्प र किमबीच भएको पहिलो शिखर वार्तापछि कोरियाली द्वीपमा परमाणु नि:शस्त्रीकरणका लागि खासै प्रगति हुन सकेको छैन । दुई नेताबीच गत जुन १२ मा सिंगापुरमा शिखर बैठक भएको थियो । ‘पत्रको मुख्य उद्देश्य राष्ट्रपतिलाई अर्को बैठकका लागि आग्रह गर्ने र मिति तय गर्नु हो । हामी त्यसको समन्वयका लागि तयार छौं र प्रक्रियासमेत सुरु गरिसकेका छौं,’ स्यान्डर्सले भनिन् । यद्यपि, उनले दोस्रो बैठक हुने सम्भावित मितिबारे भने केही उल्लेख गरिनन् ।


सिंगापुर शिखर बैठकपश्चात् उत्तर कोरियाली नेता किमले आफ्नो देशले परमाणु कार्यक्रम स्थगित गरी नि:शस्त्रीकरणतर्फ लाग्ने वाचा गरेका थिए । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले गत जुनमा भएको छलफलपछि ट्रम्प र किमको भेटवार्तामा लगातार प्रयास जारी राख्ने प्रतिज्ञा गरेका थिए ।


मुनले मंगलबार नै कोरियाली द्वीपको पूर्ण नि:शस्त्रीकरण नै अमेरिका र उत्तर कोरियाबीच समस्या समाधानको आधारभूत कुरा भएको बताएका छन् । दुई देशबीचको वार्ताका लागि मुन एक विश्वासिलो मध्यस्तकर्ता हुने अनुमान गरिएको बीबीसीले जनाएको छ ।


यसअघि उत्तर कोरियाले आफ्नो ७० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सैनिक परेडमा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रदर्शन नगरेकोमा ट्रम्पले किमलाई धन्यवाद दिएका थिए । ट्रम्पले ट्वीटरमा लेखेका थिए, ‘धन्यवाद अध्यक्ष किम, हामी दुवै जनाले सबैलाई गलत सावित गर्नेछौं ।

विदेश

बस दुर्घटनामा ५३ को मृत्यु

- कान्तिपुर संवाददाता

नयाँदिल्ली (रोयटर्स)– भारतको दक्षिणी राज्य तेलंगनामा भएको बस दुर्घटनामा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला छन् ।


जगतियाल जिल्लामा मंगलबार भएको दुर्घटनामा परी दर्जनौं घाइते भएका प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ ।


अधिकारीहरूले बसमा क्षमताभन्दा बढी मानिसले यात्रा गरिरहेकाले दुर्घटना भएको जनाएका छन् । राज्य सञ्चालित ६० जना क्षमताको बसमा ८६ ले यात्रा गरिरहेका थिए ।
ग्रामीण क्षेत्रको साँघुरो सडकमा चालकले नियन्त्रण गुमाएपछि बस गहिरो खोँचमा खसेको हो । बसमा कोन्डागाटु अन्जनेया स्वामी मन्दिरमा दर्शन गरेका तीर्थयात्रु फर्कंदै थिए ।


तेलंगनाको मुख्यमन्त्री के चन्द्रशेखर रावले दुर्घटनामा मृत्यु हुनेका परिवारलाई ५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।


भारतमा खराब सडक तथा मर्मत नगरिएका सवारीसाधानका कारण हुने सडक दुर्घटनामा बर्सेनि लाखौं करिब १ लाख ५० हजारले ज्यान गुमाउने गरेका छन् ।

विदेश

रूसको शीतयुद्धपछिकै ठूलो सैन्य अभ्यास

चीन र मंगोलिया संलग्न
- कान्तिपुर संवाददाता
मंगलबार सुरु भएको सैन्य अभ्यासमा सहभागी रूस तथा चिनियाँ सैनिक । तस्बिर : एजेन्सी

मस्को (बीबीसी)– रूसले शीतयुद्धपछिकै ठूलो सैन्य अभ्यास मंगलबार सुरु गरेको छ । अभ्यासमा करिब ३ लाख सुरक्षाकर्मी संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘भोस्तोक २०१८’ नाम दिइएको सैन्य अभ्यासमा चीनले ३ हजार २ सय सेना, युद्धपोत तथा बख्तरबन्द गाडी पठाएको छ । मंगोलियाले समेत केही सेना अभ्यासमा पठाए पनि संख्या यकिन गरिएको छैन ।


रूसले यसअघि यस्तै आकारको सैन्य अभ्यास सन् १९८१ मा गरेको थियो । तर मंगलबादेखि सुरु अभ्यासमा बढी सैनिकको सहभागिता रहेको छ । नेटो र रूसी सैनिकबीच तनाव जारी रहेका बेला रूसले एक साता लामो अभ्यास सुरु गरेको हो । सैन्य अभ्यास सुरु भएलगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनका चिनियाँ समकक्षी सी चिनफिङसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच रूसको पूर्वी सहर भ्लादिभोस्तोकमा आयोजित एक कार्यक्रममा भेट भएको हो । भेटका क्रममा पुटिनले राष्ट्रपति सीसँग ‘हामीबीच राजनीति, सुरक्षा र प्रतिरक्षाका विषयमा भरोसापूर्ण सम्बन्ध’ रहेको बताएका छन् ।


रूस र २९ सदस्यीय नेटो सेनाबीच सन् २०१४ मा रूसले युक्रेनबाट क्रिमियालाई फिर्ता लिएपछि तनाव सुरु भएको हो । क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले सैन्य अभ्यासले ‘रूसप्रति आक्रामक र शत्रुतापूर्ण व्यवहार गर्ने’ का लागि जवाफ भएको जनाए ।


रूसी रक्षा मन्त्रालयका अनुसार सैन्य अभ्यासमा ३६ हजार टयांक, एक हजार विमान र ८० पन्डुब्बी सेप्टेम्बर १६ सम्म हुने अभ्यासमा संलग्न छन् ।

Page 11
अर्थ वाणिज्य

उपभोक्तालाई चिनी महँगो पर्ने

आयात रोक्न मिल्दैन : विज्ञ
आवश्यकताअनुसार खुला गर्न सकिन्छ : आपूर्तिमन्त्री
- राजु चौधरी

 (काठमाडौं) - चिनी उद्योग संघका उपाध्यक्ष राजकुमार अग्रवालका अनुसार उनको कारखानाबाट प्रतिकिलो ६३ रुपैयाँमा चिनी बिक्री हुन्छ । बजारमा भने चिनीको खुद्रा मूल्य प्रतिकिलो ५९ रुपैयाँँ छ । यही बीचमा प्रधानमन्त्री केपी ओलीले चिनी आयात रोक्न अर्थ र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन् । यदि चिनीको आयात रोकिने हो भने बजार मूल्य प्रतिकिलो ७० रुपैयाँभन्दा बढी पर्ने व्यवसायी बताउँछन् । स्वदेशी चिनी उद्योगीले यहाँ उत्पादित चिनी बिक्री नभएको र किसानलाई पनि भुक्तानी दिन नसकेकाले आयात बन्द गर्न प्रधानमन्त्रीलाई आग्रह गरेपछि उनले आयात रोक्न निर्देशन दिएका हुन् ।


‘सम्बन्धित क्षेत्रका माननीय, उद्योगी, किसानका नेतासहित प्रधानमन्त्रीसँग भएको छलफलमा आवश्यकताभन्दा बढी चिनी भएकाले आयात रोक्ने छलफल र सहमति भएको छ,’ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कान्तिपुरसित भने, ‘चिनीको डम्पिङ क्षेत्र बनाउनु उचित होइन ।’ उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार हाल चिनी उद्योगीले करिब ४ अर्ब रुपैयाँ किसानलाई तिर्न बाँकी छ । गत वर्षसम्म सरकारले उद्योगीलाई भ्याट फिर्ता दिन्थ्यो । सहुलियत हुँदाहुँदै पनि गत वर्षसम्म मात्रै ७ अर्ब उद्योगीले किसानलाई तिरेका थिएनन् । यस वर्षदेखि सरकारले कडाइ गरेपछि भुक्तानी दिन थालेको पछिल्लो ६ महिनामै ३ अर्ब तिरिसकेका छन् ।


त्यसैले आयात प्रतिबन्ध लगाउनु मात्रै उद्योगीलाई संरक्षण गर्ने उपाय नभएको अर्थविद् बताउँछन् । बरु आयात प्रतिबन्ध हुँदा उपभोक्ता मारमा पर्ने विज्ञ बताउँछन् । ‘विश्व व्यापार संगठन (डब्लूटीओ) सदस्यको नाताले आयात नै बन्द गर्न मिल्दैन,’ अर्थविज्ञ पोषराज पाण्डेले भने । अत्यधिक आयातले उद्योगलाई नै असर गरेको हो भने सुरक्षा उपाय अपनाउन सकिन्छ । असर गरे/नगरेको पुष्टि गर्न सक्नुपर्ने पाण्डेले बताए । ‘त्यति हुँदा पनि आयातलाई निरुत्साहित गर्न भन्सार (शुल्क) अवरोधको प्रयोग हुनुपर्छ,’ उनले भने, ‘आयात नै बन्द गर्न मिल्दैन ।’


मन्त्री यादवले भने आवश्यकताअनुसार पुन: आयात खोल्न सकिने बताए । अहिले आयातको आवश्यकता नभएर रोक्ने सहमति भएको उनले बताए । उपाध्यक्ष अग्रवालका अनुसार उद्योगीहरूले मौज्दात बिक्री भएपछि मात्रै खुला गर्नुपर्ने सुझाव दिएका छन् । हाल उद्योगीसँग करिब १ लाख ८ हजार टन चिनी मौज्दात रहेको संघको दाबी छ । ‘आयात बन्द हुँदा तीन महिनाको अवधिमा करिब ५० हजार टन बिक्री हुन सक्छ । पुस १ गतेदेखि नयाँ सिजन सुरु हुन्छ । क्रसिङ चैत मसान्तसम्म चल्छ,’ उपाध्यक्ष अग्रवालले भने, ‘अहिलकै अवस्थामा उद्योगीसहित किसान मारमा पर्छन् ।’ आयात बन्द गर्दा चिनीको मूल्य नबढ्ने अग्रवालले दाबी गरे । तर, आयात बन्दले चाडबाडमा मूल्य अस्वाभाविक रूपमा बढ्ने उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।


अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा गिरावट आएकाले आयात बन्द उचित नहुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । ‘आयातमा नै प्रतिबन्ध लगाउनु पूर्णत: खुला बजार अर्थ नीति र स्वच्छ प्रतिस्पर्धाको नीति विपरीत हुन्छ,’ उनले भने, ‘आयात प्रतिबन्धले चिनीको बजार मूल्य बढ्छ ।’ यसअघि पनि चिनी उद्योगीले चिनी बिक्री नभएको भन्दै भन्सार महसुल बढाउन दबाब दिएका थिए । सरकारले सोहीअनुसार चिनीको भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्‍याएको थियो । अहिले पुन: चिनी बिक्री नभएको भन्दै आयात नै प्रतिबन्ध गर्नुपर्ने माग गर्दै आएका हुन् ।


‘२०७३ को चैत र २०७४ को वैशाखमा चिनी उद्योगीको लागत मूल्य ५६ देखि ६६ हुँदा स्थानीय बजारमा ८५ देखि ९५ रुपैयाँसम्म बिक्री भएको थियो । व्यवसायीले अधिकतम मुनाफा २६ प्रतिशतसम्म लिएको सरकारी प्रतिवेदनबाट नै देखिएको छ,’ मञ्चका अध्यक्ष महर्जनले भने, ‘स्वदेशी उद्योगीहरू राष्ट्र र जनताको हितभन्दा आफ्नै हितमा मात्र काम गरेको स्पष्ट देखिन्छ । चाडबाडमा चिनीको मूल्य बढाउने खेल हो ।’ आपूर्तिमन्त्री यादवले भने चिनीको मूल्य नबढ्ने दाबी गरे । ‘चिनीको मूल्य बढदैन । त्यसको ज्ञारेन्टी सरकारले गर्छ । मूल्यको सन्दर्भमा फेरि छलफल गर्छौं,’ उनले भने, ‘चिनी अभाव पनि हुन दिँदैनौं ।’ हाल मुलुकमा १३ चिनी उद्योग छन् ।

अर्थ वाणिज्य

चिया मजदुरको आन्दोलन टुंगिएन

- कान्तिपुर संवाददाता

इलाम (कास)– वार्षिक अढाई अर्ब रुपैयाँभन्दा धेरै विदेशी मुद्रा भित्र्याउने चिया क्षेत्रमा कार्यरत मजदुरले सेवा सुविधा कम पाएको गुनासो गर्न छाडेका छैनन् । सेवा सुविधाको विषयमा पटकपटक विरोधमा उत्रने चिया मजदुरहरू पुन: आन्दोलनमा होमिएका छन् । ३ वर्षसम्म कुनै आन्दोलन नगरेका चिया मजदुरले यसपालि सरकारले तोकेको सेवा सुविधा पाउनुपर्ने माग राखेका छन् ।


चिया क्षेत्रमा काम गर्ने श्रमिकहरूले अन्यसरह कुनै पनि सेवा सुविधा नपाएको र सरकारले राजपत्रमा तोकेको पनि कार्यान्वयन नहुँदा आन्दोलनमा जानुपरेको उनीहरूको भनाइ छ । इलाम, झापा, धनकुटालगायत चिया बढी उत्पादन हुने क्षेत्रका मजदुरहरू मारमा परेको भन्दै आन्दोलनमा लागेका हुन् ।


मुना धेरै पलाउने मुख्य सिजनमा हुने आन्दोलनले चियाको कुल उत्पादनमा नै असर पुर्‍याउने गर्छ । मजदुरहरूले भने माग पुर्‍याउन यही अवसर उपयुक्त भएको दाबी गर्ने गरेका छन् । सरकारले चिया क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सहयोग नगरे आफूहरूले मात्रै मजदुर समस्या समाधान गर्न नसक्ने उद्योगीहरूको भनाइ छ ।


राजपत्रमा उल्लेख गरेबमोजिम गर्न र श्रम ऐन २०७४ लागू गर्न दबाब दिँदै मजदुर संगठनहरूले भदौ १७ देखि आन्दोलन सुरु गरेका हुन् । बगान र कारखानालाई असर नपर्ने गरी उनीहरूले हालललाई आन्दोलनका कार्यक्रम ल्याएको जनाएका छन् ।

अर्थ वाणिज्य

पाटामा लगिएको निगमको जहाजबारे छानबिन हुने

आइतबार रातिको दुबई उडान रद्द गरेर सोमबार बिहान निगमको विमान मलेसिया लगिएको थियो
- सुरज कुँवर

 (काठमाडौं) - काठमाडौं– दुबईको कमर्सियल उडान रद्द गरेर मलेसियामा हुने पाटाको ट्राभल मेलाका लागि लगिएको नेपाल वायु सेवा निगमको विमान घटनाबारे छानबिन गर्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निर्देशन दिएका छन् ।


पर्यटन प्रवद्र्धन सम्बन्धी नेपालमा शाखा भएको गैरसरकारी संस्था पाटाको बुधबारदेखि मलेसियामा हुन लागेको तीनदिने मेलामा भाग लिनका लागि राष्ट्रिय ध्वाजावाहक विमानको आइतबार रातिको दुबई उडान रद्द गरेर सोमबार बिहान मलेसिया लगिएको थियो । यो उडान रद्द भएपछि त्यस रात दुबई उड्न पर्खिरहेका ६३ यात्रुलाई सिनामंगलका तीनवटा साना होटलमा निगमकै खर्चमा राखिएको थियो भने दुबईबाट काठमाडौं आउन लागेका १ सय ५६ यात्रु उतै रोकिएका थिए ।


मन्त्री अधिकारीले यस विषयलाई गम्भीर भएको प्रतिक्रिया दिँदै संलग्नलाई कारबाही गरिने बताए । ‘एउटा रुटको उडान रद्द गरेर अर्कैतिर जहाज लैजानु गम्भीर विषय हो,’ मंगलबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भने, ‘सरकारले यस्तो विषयमा छुट दिने छैन ।’


निगमको सञ्चालक समितिका अध्यक्ष तथा सचिव कृष्णप्रसाद देवकोटाले वास्तविकता के भएको हो भनी छानबिन गर्न निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निर्देशन दिएको सम्मेलनमा बताए । ‘वास्तविकता के हो ? बुझ्न लगाएको छु,’ पर्यटन सचिव देवकोटाले भने, ‘यसबारे सबै जानकारी उपलब्ध गराउन भनेको छु ।’ मन्त्री अधिकारी र सचिव देवकोटाले सञ्चार माध्यममार्फत यसबारे जानकारी पाएको बताउँदै सत्यतथ्य सार्वजनिक गर्ने बताए ।


उक्त मेलामा भाग लिन निगमको कर्पोरेट विभागका निर्देशक रवीन्द्र श्रेष्ठ र कमर्सियल विभागका निर्देशक कृष्णगोपाल जोशीसहित ३७ जना नेपालीको टोली सोमबार बिहान साढे ९ बजे काठमाडौंबाट उडेका थिए । यसमा निगमका ४ कर्मचारीसहित पाटा नेपाल, पर्यटन बोर्ड, पर्यटन व्यवसायी र पत्रकार छन् । १ सय ५८ सिट क्षमताको उक्त न्यारो बडी एयरबस विमानमा ६५ जना अन्य टिकट काटेका यात्रु थिए भने पाटाको मेलामा सहभागी ३७ मध्ये ४ जनालाई सित्तैमा टिकट दिइएको थियो ।


आइतबार रातिको दुबई उडान गरेको भए भोलिपल्ट (सोमबार) बिहान मलेसियाको उडान पनि हुन्थ्यो । यसबाहेक त्यसदिन निगमका दुईटा वाइडबडी एयरबस र एउटा बोइङ पनि स्टयान्डबाई अवस्थामा थिए । ‘निगमको कर्मसियल र अपरेसन विभागबीच समन्वय नै देखिएन,’ निगम स्रोत भन्छ ।


यसैबीच निगम मुख्यालयमा मंगलबार भएको नियमित निर्देशकहरूको बैठकमा जहाज दुबई नउडाई मलेसिया लगिएको विषयमा छलफल भएको बैठकमा सहभागी एक स्रोतले भन्यो । ‘बैठकमा महाप्रबन्धक कंसाकारलाई निगमका एक प्राविधिक निर्देशकले मलेसिया उडान गरिनु गल्ती भएको सुनाए,’ स्रोतले भन्यो, ‘दुबईको उडान रद्द नगरेको भए पनि मलेसियाको उडान गर्न सकिन्थ्यो ।’ ती निर्देशकको भनाइ उद्धृत गर्दै स्रोतले कान्तिपुरसँग भन्यो । बैठकमा निगमभित्रको सूचना सञ्चार माध्यममा गएको विषयमा महानिर्देशकले निर्देशकहरूलाई सचेत गराएका थिए । ‘दुईजना निर्देशक एउटै कार्यक्रममा नगएको भए पनि हुन्थ्यो,’ निगम स्रोतले भन्यो, ‘पाटाको मेलामा मलेसियास्थित निगमको स्टेसनका कर्मचारीलाई पठाउन सकिन्थ्यो ।’ कार्यक्रम सुरु हुन एक दिनअघि नै निगमको टोली मलेसिया जानु जायज नभएको बताउँदै एक अधिकारीले भने, ‘प्रतिदिन होटल भत्ता २ सय ५० र टयाक्सीलगायतको खर्चका लागि पाइने १ सय २० डलर भत्तामा लोभ गरेको देखिन्छ ।


यसैबीच निगमले मंगलबार विज्ञप्ति जारी गर्दै दुबईको उडान ‘बाध्यात्मक अवस्था सिर्जना भएकाले’ रद्द गर्नुपरेको जनाएको छ ।

अर्थ वाणिज्य

रेस्क्यु उडानका नाममा कर छली

- जयबहादुर रोकाया

(हुम्ला) - हुम्लामा रहेका निजी हेलिकप्टर कम्पनीले पछिल्लो तीन महिनामा करिब ३० आकस्मिक उडान गरे । अधिकांश उडानमा बिल दिइएन । बिल दिएकाले पनि भ्याट बिल दिएनन् ।


सिमकोटका पर्यटन व्यवसायी विजय लामाले कसैलाई हेलिकप्टरबाट रेस्क्यु उडानको आवश्यक परे व्यवस्था गर्ने गरेका छन् । लामाका अनुसार रेस्क्यु उडान गर्ने हेलिकप्टर कम्पनीले मूल्य अभिवृद्धि करको बिल दिँदैनन् । कम्पनीको लेटरप्याड प्रयोग गरेर प्रमाणस्वरूप लेखेर दिने गरिएको छ । लाखौं रकमको कारोबार गर्ने हेलिकप्टर कम्पनीसँग भ्याट बिल हुँदैन । लामाका अनुसार यसवर्ष जेठदेखि साउनसम्म जिल्लाभित्र ३० रेक्स्क्यु उडान भएका थिए । एक उडानको ठाउँअनुसार प्रतिउडान ८० हजारदेखि १ लाख २५ हजारसम्म लिने गरिएको छ ।
यी व्यावसायिक उडानका साथै हुम्लामा गरिने अधिकांश कारोबारमा कर छली हुने गरेको छ ।

 

तिब्बत नाका जोडिएको हिल्सास्थित भन्सार कार्यालयले असार महिनामा केही व्यापारीले तिब्बत लिन लागेका हस्तकलाका सामानमा भ्याट लियो । कार्यालयका अनुसार काठमाडौं र भारतबाट खरिद गरी ल्याएका सामानको बिलमा भ्याट तिरेको उल्लेख नभएकाले भ्याट लिइएको हो । भन्सार कार्यालयले भ्याट असुल्न नपाउने र त्यो पनि साधा कागजमा भरपाई गरिएको भन्दै सञ्चार माध्ययममा चर्चा भयो ।


हुम्लाका स्थानीयले सामान खरिद गर्दा बिल नलिएका होइनन् । तर, उनीहरूलाई भ्याट बिलबारे जानकारी नै नभएकाले जसबाट खरिद गरिएको हो, उसैले दिएको बिलमार्फत तिब्बती सीमामा पुगे । सीमा पुगेका ती व्यापारीलाई बिल मागियो र भ्याट नभएपछि भ्याटबापत रकम तिराइयो । सरकारी निकायको कमजोरीको नमुनासमेत हो यो । काठमाडौं हुँदै आएको सामानको नेपालगन्ज र सिमकोट विमानस्थलमा भ्याट बिल खोजिएको नेपालगन्ज विमानस्थल र सिमकोट विमानस्थलमा भ्याट बिल खोजिएको थिएन । जिल्लामा ठूलो कारोबार गर्ने व्यवसायीले नै भ्याट बिलबिनै करोडौंको कारोबार गर्दै आइरहेका छन् । बिल काटे पनि परिणाम घटाएर दिने प्रचलन नै बसेको छ । ठूलो रकमको कारोबार गर्दा दोहोरो बिल बनाउने गरिएको छ । तर, कुनै निकायले पनि त्यसबारे चेकिङ गर्ने गरेका छैनन् । हुम्ला सडक सञ्जालसँग जोडिएको छैन । जिल्लामा नेपालगन्ज र सुर्खेतबाट दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीका सामग्री हवाई उडानबाटै हुने गरेको छ । सामान ढुवानी गर्दा लाखौं रकमको कारोबार हुने भए पनि सामान ढुवानीकर्ता कार्गाे सेवाले मूल्य अभिवृद्धि करको बिल प्रयोग गर्ने गरेका छैनन् । सरकारी कारोबारमा भ्याट बिल खोज्ने तर ढुवानीकर्ता कार्गाे सेवाले उपलब्ध नगराउने भएकाले विकास निर्माणका सामानको ढुवानी गर्ने उपभोक्ता समस्यामा पर्ने गरेका छन् ।


सिमकोटमा करिब सय बढी पसल छन् । ती पसलबाट महिनामा लाखौं कारोबार हुने गरेको छ । अधिकांशसँग मूल्य अभिभृद्धि करको बिल हुँदैन । नेपालगन्ज र सुर्खेतका थोक बिक्रेताले नै साना व्यापारीलाई भ्याट बिल उपलब्ध गराउँदैनन् । करोडांैको सामान बुक लिने नेपालगन्ज र सुर्खेत विमानस्थलमा सामानअनुसारको भ्याट बिल हेर्ने कुुनै निकाय छैन । कसैले खोजी गर्ने झन्झट पनि गर्दैन । यदि कसैले खोजे पनि थोक बिक्रेताले दिएको न्यून परिणामको बिल देखाएर यहाँका व्यवसायी पन्छिने गरेका छन् ।

Page 12
अर्थ वाणिज्य

सवारीको भन्सार नघट्ने

- कान्तिपुर संवाददाता

(काठमाडौं) - राजस्वको महत्त्वपूर्ण स्रोतका रूपमा रहँदै आएको सवारीको भन्सार महसुल नघट्ने भएको छ । सवारी व्यवसायसँग सम्बन्धितहरूले सवारीमा सरकारले लगाएको भन्सार दर बढी भएको गुनासो गरे पनि अर्थमन्त्री युवराज खतिवडाले तत्काल भन्सार दर परिवर्तन नहुने बताएका हुन् ।


अर्थमन्त्रीले मंगलबारदेखि काठमाडौंमा सुरु भएको नाडा अटो सोको उद्घाटन गर्दै नेपालको अर्थतन्त्र भन्सार राजस्वमा आधारित रहेकाले तत्काल भन्सार दर घटाउँदा विकास निर्माणका लागि बजेट अभाव हुने दाबी गरे । ‘आन्तरिक उद्योगबाट राजस्व संकलन हुने अवस्था नआएसम्म भन्सार दर घट्दैन,’ उनले भने, ‘आन्तरिक स्रोतबाटै बढी राजस्व उठ्न थालेपछि स्वत: घट्छ ।’ उनले आन्तरिक उद्योगबाट दुई तिहाइ राजस्व उठ्न थालेपछि भन्सार दर घट्ने उनको तर्क थियो ।
उनले यातायात क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूलाई सरकारले संरचनागत समस्या चिरेर अघि बढ्न खोजेको भन्दै सरकारलाई केही समय पर्ख र हेरका रूपमा लिन आग्रह गरे । सरकारले सार्वजनिक यातायात, विद्युतीय सवारीलाई प्राथमिकतामा राखेको उनले बताए । उनले नेपालमा एसेम्बल गर्ने कम्पनीलाई संरक्षण गर्न सकिने धारणा राखे । व्यक्तिगत सवारी प्रयोगप्रति लक्षित गर्दै उनले ‘उपभोग आम्दानीमा आधारित हुनुपर्ने’ धारणा राखे ।


नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) ले हरेक वर्ष आयोजना गर्दै आएको नाडा अटो सो यो वर्ष मंगलबारदेखि सुरु भएको छ । प्रदर्शनी भदौ ३१ गतेसम्म चल्नेछ । यो वर्ष प्रदर्शनीमा ७१ कम्पनीका १ सय ३४ वटा स्टल राखिएको छ । तीमध्ये १९ वटा चारपांग्रे सवारीको स्टल छन् । दुईपांग्रे सवारीको स्टल २० वटा छन् । प्रदर्शनीमा ३४ वटा स्टल छन् भने सवारी साधनसँग सम्बन्धित पाटपुर्जा, लुब्रिकेन्ट्स र टायरलगायतका हुनेछन् । यीमध्ये केही ब्रान्डले आफ्नो विद्युतीय सवारीसमेत प्रदर्शनीमा राखेका छन् । आधा दर्जन ब्रान्डका विद्युतीय सवारी पनि प्रदर्शनीको आकर्षण बन्नेछन् ।


प्रदर्शनीमा सडक सुरक्षासम्बन्धी चेतना जगाउने उद्देश्यले ट्राफिक प्रहरीका दुईवटा स्टल छन् । जसमा ट्राफिक प्रहरीले दुर्घटना घटाउने उपाय र जनचेतना जगाउने सामग्री राख्नेछन् । नाडा अटो सोमा हरेक दिन विविध विषयमा अन्तरक्रिया आयोजना गरिने आयोजकले जनाएको छ । प्रदर्शनीभर हरेक दिन यातायात क्षेत्रमा लगानी, नेपाली अर्थतन्त्रमा यातायात क्षेत्रको योगदान, आगामी १० वर्षमा यातायात क्षेत्रको याताजस्ता बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ ।


प्रदर्शनीको टिकट किन्ने अवलोकनकर्तालाई हरेक दिन चिठ्ठामार्फत एक मोबाइल पर्ने आयोजकले जनाएको छ ।


भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सवारी साधन र तिनका पाटपुर्जा मात्रै ८६ अर्बको आयात भएको छ । यसबाट ८० अर्ब राजस्व संकलन भएको थियो । राजस्व संकलनको हिसाबले यातायात सबैभन्दा बढी राजस्व बुझाउने क्षेत्र हो ।

अर्थ वाणिज्य

सामसङको ग्यालेक्सी जे २ कोर

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सामसङ इलेक्ट्रोनिक्सले आफ्नो पहिलो एनरोइडगो स्मार्टफोन ‘ग्यालेक्सी जे टु कोर’ सार्वजनिक गरेको छ । हरेक स्मार्टफोनमा जस्तै यो प्रयोग गर्दा मल्टी मिडियाको अनुभव प्राप्त गर्न सकिने दाबी कम्पनीको छ । यसमा ४० गुणा ९६० रिजोलुसन र अल्ट्रा डेटा सेभिङ फिचर रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

अस्पताललाई मोबाइल मेडिकल कार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– जापान सरकारले सिरहास्थित फुलकुमारी महतो मेमोरियल अस्पताललाई मोबाइल मेडिकल कार प्रदान गरिएको छ । नेपालका लागि जापानका राजदूत मासामिसी ओगावाले अस्पतालका मेडिकल डाइरेक्टर डा. शिवशंकर शाहलाई उक्त कार हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ । मोबाइल मेडिकल क्लिनिकबाट सिरहा, सप्तरी, उदयपुर, सिन्धुली र धनुषाका जनताले लाभ पाउने जनाइएको छ ।

अर्थ वाणिज्य

नेबैलिको नारी बचत

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल बैंक लिमिटेडले नारी सम्मान बचत खाता सार्वजनिक गरेको छ । हरितालिकाको अवसरमा नारीको सम्मान गर्ने तथा नारीलाई बचततर्फ उत्प्रेरित गरी उनीहरूको सुखद् भविष्य सुनिश्चित गर्ने उद्देश्यले बैंकले यो खाता ल्याएको जनाएको छ । उक्त खाताका ग्राहकले नि:शुल्क भिसा डेबिट कार्ड, स्मार्ट बैंकिङ रजिस्ट्रेसन, एबीबीएस, डिम्याट/आस्वा खाता सेवा, लकर सेवामा धरौटी छुट, शुल्कमा २५ प्रतिशत छुट, आन्तरिक तथा बाय रेमिटयान्स पठाउँदा ५० प्रतिशत छुटलगायतका महत्त्वपूर्ण सहुलियत प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

एनआईसीको योजना

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनआईसी एसिया बैंकले चामत्कारिक विशेषताहरू भएका दुई नयाँ कर्जा योजनाहरू ‘चामत्कारिक सवारी कर्जा र चामत्कारिक घर जग्गा कर्जा सार्वजनिक गरेको छ । सवारी कर्जामा तत्कालै कर्जा स्वीकृति, अधिकतम १५ वर्षसम्मको कर्जा भुक्तानी अवधि, सवारीको मूल्य अनुसार मासिक ११ हजारबाट किस्ता रकम सुरु हुने र मासिक ब्याज दर ०.९ प्रतिशत मात्र रहेको जनाएको छ । त्यस्तै घरजग्गा कर्जामा अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि, मासिक ब्याजदर ०.९ प्रतिशत र प्रशासनिक सेवा शुल्कमा विशेष छुटलगायतका विशेषताहरू रहेको जारी विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

एफएमएनमा फुँयाल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– फुटवेयर म्यानुफयाक्चर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) को १७ औं साधारणसभाले कृष्णकुमार फुँयालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू (३), महासचिव, उपसचिव, सचिव, कोषाध्यक्ष र सदस्य पनि चयन गरिएको छ, जसमा क्रमश: उत्तम अधिकारी, नानीराज घिमिरे, शम्भु तिमिल्सेना, चोककुमार श्रेष्ठ (राजन) महासचिवमा नवराज गौतम, उपमहासचिवमा ज्ञानेन्द्र दाहाल, सचिवमा ऋिषिराज घिमिरे, कोषाध्यक्षमा दीपेन्द्र थापा, सदस्यहरूमा सौरभ श्रेष्ठ, त्रिलोक श्रेष्ठ, शंकर गौतमलगायतको रहेको जारी विज्ञप्ति छ ।

 

अर्थ वाणिज्य

महिन्द्राले गर्‍यो सार्वजनिक ‘इभेरिटो’

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– महिन्द्रा एन्ड महिन्द्राले नाडा अटो सोको पहिलो दिन इभेरिटो सार्वजनिक गरेको छ । सोमा नेक्स जेनरेरेसनको ‘महिन्द्रा पिकअफ’ र ‘प्लस न्यु एक्सयूभी ५००’ पनि सार्वजनिक गरेको जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा पहिलोपटक सार्वजनिक गरिएको अल इलेक्ट्रिक सेडान ई–भेरिटोको चार्ज तीव्र गतिमा हुने दाबी कम्पनीको छ । आफ्ना यी उत्पादनहरू नाडा अटो सोमा प्रदर्शनका लागि समेत राखिएको छ ।

अर्थ वाणिज्य

निसान गाडीको ‘फेस्टिभ ड्राइभ’

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पायोनियर मोटोकर्पले मंगलबार सुरु नाडा अटो सोसँगै निसान गाडीका लागि ‘फेस्टिभ ड्राइभ’ उपहार योजना पनि सुचारु गरेको छ । यो योजनाअन्तर्गत नाडा अटो सोमा आएका ग्राहकहरूले बुकिङ गरेबापत योजनाको अन्त्यमा नगद २७ हजार रुपैयाँ बराबारको ‘रेडमी नोट ५मोबाइल’ फोन प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा छ । त्यस्तै सोमै कम्पनीले फाइनान्स र किस्ताबन्दीको प्रावधान पनि लागू गरेको छ । जसअन्तर्गत १४ हजार ६ सय ११ सम्मको न्यून मासिक किस्ता तिर्ने प्रावधानसम्म रहेको जनाएको छ । चाड–पर्वभरि लागू यो योजनाबाट ग्राहकले ४९ हजार रुपैयाँसम्मको एसेसेरिज, एक वर्षको नि:शुल्क बिमा, एक वर्षसम्म सडक कर नि:शुल्क, ३ वर्षको वारेन्टी सर्भिसिङ, तत्काल फाइनान्स र एक्सचेन्जको सुविधा र ६ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्ने पनि विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

हिरोको ‘एक्स्टि्रम २०० आर’

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– हिरो मोटोकर्पले नयाँ मोटरसाइकल ‘एक्स्टि्रम २०० आर’ नेपाली बजारमा ल्याएको छ । यसमा रहेको बीएस–आईभी २०० सीसी एयर कुल्ड इन्जिनले शक्ति प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार ८ हजार आरपीएममा १८.४ पीएसको अधिकतम शक्ति र ६५ सय आरपीएमा १७.१ एनएमको अधिकतम टर्क उत्पन्न गर्छ । ११४ किमि प्रतिघण्टा उच्च गति सीमा रहेको यो बाइक ४.६ सेकेन्डमा ०–६० किमि/घण्टाको गतिमा गुड्न सक्ने जारी विज्ञप्तिमा छ । ‘एक्स्टि्रम २००आर’ को विशेष मूल्य २ लाख ८६ हजार ५ सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

अर्थ वाणिज्य

टोयोटाको स्पेसल अफर

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राजधानीमा जारी नाडा अटो सोमा टोयोटाले ‘स्पेसल अफर’ ल्याएको छ । बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले उक्त घोषणा गरेको हो । नाडा अटो सो अवधिभरि टोयोटाको हरेक बुकिङमा ५ जोडीका लागि ५ दिन, ४ रातको इन्डोनेसियाको बाली टुर, ४ जोडीका लागि ४ दिन ३ रातको पोखरा टुर र २ जोडीका लागि माउन्टेन फ्लाइट जित्ने अवसर प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा छ । हालै सार्वजनिक गरिएको एसयूभी ‘रस’ नाडा अटो सोको प्रमुख आकर्षण रहने कम्पनीले जनाएको छ । सोमा आएका ग्राहकहरूलाई टोयोटाले इन हाउस फाइनान्सको सुविधा पनि प्रदान गर्ने जनाएको छ ।

अर्थ वाणिज्य

अपाचे आरआर ३१० सार्वजनिक

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– टीभीएसले नाडा अटो सोमा आफ्नो सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० सार्वजानिक गरेको छ । टीभीएस अपाचे आरआर ३१०, टीभीएस अपाचे स्टेबल कम्पनीको पछिल्लो प्रस्तुति रहेको जारी विज्ञप्तिमा छ । अपाचे आरआर ३१०, ३१२ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन रहेको कम्पनीले जनाएको छ । टीभीएस अपाचे आरआर ३१० रेसबाट प्रेरित भएर ठाडो स्पिडो–कम–त्याकोमिटर जडित छ, जसमा १८ रेसिङ टेल–टले डाइग्नोस्टिक्स र कम्प्रेसिभ पोस्ट–राइड एनालिसी रहेको जनाएको छ ।

अर्थ वाणिज्य

एसडब्लूएम मोटरसाइकल भित्रियो

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नाडा अटो सोको अवसरमा नेपालमै पहिलोपटक इटालियन कम्पनी एसडब्लूएम मोटरसाइकल सार्वजनिक गरिएको छ । बिक्रेताको ज्ञान अर्थमुर्भसले यी बाइक भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सार्वजनिक गरेको जारी विज्ञप्तिमा छ । सुरुमा एसडब्लूएमका आरएस ३०० आर, सुपर डयुअल ६५० टी र सिल्भर भेस ४४० का मोडल भित्र्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आरएस ३०० आरको मूल्य १६ लाख, सुपर डयुअल ६५० टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य १४ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ । इन्डुरो, क्लासिक र एड्भेन्चर टुरर मोटरसाइकलका रूपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

 

Page 13
अर्थ वाणिज्य

पोखरालाई पर्यटकीय राजधानी बनाउन प्रस्ताव

प्रदेश सरकारले पर्यटनमैत्री तथा लगानीमैत्री नीति तर्जुमा गर्दै पोखरालाई विशेष पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाए दसौं लाख पर्यटक भित्र्याउन सकिने
- कान्तिपुर संवाददाता

(लेखनाथ)- होटल संघ नेपाल (हान) ले पोखरा महानगरलाई पर्यटकीय राजधानीका रूपमा विकास गर्न प्रस्ताव अगाडि सारेको छ । पोखरामा मंगलबार आयोजित अन्तरक्रियामा पर्यटन व्यवसायी, प्रदेशका मुख्यमन्त्री, मन्त्री र पोखराका मेयरलाई सँगै राखेर संघले पोखरालाई दक्षिण एसियाको पर्यटकीय प्रवेशद्वार बनाउन सकिने भन्दै पर्यटकीय राजधानीको प्रस्ताव राखेको हो ।


संघका अध्यक्ष अमरमान शाक्यले गण्डकी प्रदेशमा दिगो पर्यटन विकास गर्दै यसलाई समृद्ध प्रदेशका रूपमा अगाडि बढाउन सकिने बताए । उनले यसका लागि संघीय सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने सुझाव राखे । प्रदेश सरकारले पर्यटनमैत्री तथा लगानीमैत्री नीति तर्जुमा गर्दै पोखरालाई विशेष पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाएर दसौं लाख पर्यटक भित्र्याउन सकिने उनले सुनाए ।


संघका पूर्वअध्यक्ष प्रसिद्धबहादुर पाण्डेले हरेक उमेर, क्षमता र अवस्था भएका पर्यटकका लागि पोखरा उपयुक्त पर्यटकीय गन्तव्य भएको अवधारणापत्र प्रस्तुत गरे । पोखरालाई मास तथा माइस (एमआईसीई) टुरिजमको गन्तव्यका रूपमा विकास गर्न आक्रामक तथा आकर्षक पर्यटकीय नीति तर्जुमा गर्नुपर्ने उनको धारणा छ । सन् २०२० को नेपाल भ्रमण वर्षको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन पाण्डेले सरकारको ध्यानाकर्षण गराएका छन् ।


यसअन्तर्गत सरकारी जग्गाहरू होटल तथा रिसोर्टहरू खोल्न भाडामा दिन सकिने व्यवस्था हुनुपर्ने, करिब पाँच प्रतिशत ब्याजदरमा बैंक कर्जा उपलब्ध हुनुपर्ने, पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने, सरकारले १० वर्षका लागि कर मिनाहा अर्थात् टयाक्स होलिडेको व्यवस्था गर्नुपर्ने, विदेशबाट ल्याइने वस्तुको आयात कर छुट हुनुपर्ने र स्थानीय उपजमा भ्याट आधा कम हुनुपर्ने प्रस्ताव उनले अवधारणापत्रमा उल्लेख गरेका छन् ।


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हानले ल्याएको अवधारणा सकारात्मक भएको भन्दै प्रदेश सरकार अहिले नीति निर्माणकै विषयलाई केन्द्रमा राखेर अगाडि बढिरहेको जानकारी दिए । काठमाडौं, पोखरा, भैरहवा र निजगढमा विमानस्थल सुधार तथा निर्माण सम्पन्न भएपछि र पोखरा जोड्ने मध्यपहाडी, पृथ्वी, सिद्धार्थ र कोरला हुँदै त्रिवेणी जोड्न राजमार्गहरू निर्माण तथा विकास भएपछि पोखरा पर्यटनको सशक्त हब हुने भनाइ उनले राखे । यसका लागि कम्तीमा लेकसाइडलाई २४ घण्टा नै खोल्ने वातावरण बनाउनुपर्ने, डाँडाकाँडामा होटल र क्यासिनो खोल्नुपर्ने उपाय सुझाए । मुस्ताङमा हाई अल्टिच्युड खेल केन्द्र खोल्ने विचार पनि प्रदेश सरकारको रहेको र लगानी सम्मेलनसमेत प्रदेश सरकारले गर्न लागेको जानकारी उनले गराए ।


गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लिगलिगकोटमा इतिहाससम्बन्धी संग्रहालय र पोखराको विजयपुर खोलामाथि आकर्षक ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने योजना सुनाए । नागरिकमा कर तिर्नुपर्छ भन्ने भावना भयो भने सरकारले विकास निर्माणमा खर्च गर्ने रकम प्राप्त गर्ने भनाइ उनको थियो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले पोखरालाई पर्यटकको ट्रान्जिटका रूपमा नभई हबका रूपमा विकास गर्नुपर्नेर्े, फेवा तालको संरक्षण गर्नुपर्ने र भाषण मात्र नभई कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने सुझाव राखे ।


कार्यक्रमको अर्को आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पर्यटकीय पूर्वाधारको विकास, पर्यटकलाई सहज पहुँचको व्यवस्था र बैंकको चर्को ब्याज दरलाई न्यून गर्न सके पर्यटनमा लगानी र पर्यटक आगमनसमेत बढ्न सक्ने भनाइ राखे । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विश्वशंकर पालिखेले सरकारी कर्मचारीका लागि पेड होलिडेको व्यवस्था गर्नुपर्ने बताउँदै मानव निर्मित पर्यटकीय गन्तव्यहरूको विकास पनि पोखरामा जरुरी भएको उल्लेख गरे । पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले पर्यटन क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै यसलाई अन्त्य गरिनुपर्ने बताए ।


यौनकर्मीलाई परिचयपत्र !
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् । होटल संघ नेपालले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले कि ‘रेडलाइट एरिया’ हुनुपर्ने या त परिचयपत्रको व्यवस्था गर्नुपर्ने उपाय सुझाए ।


‘जति रोक्न खोजे पनि भित्रभित्र धन्दा भइरहेकै छ,’ उनले भने, ‘बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।’ लुकेर धन्दा चलिरहँदा केही निश्चित मान्छेले मात्रै फाइदा लिइरहेको उनको दाबी थियो । परिचयपत्रको व्यवस्था गरे धेरथोर कर पनि संकलन गर्न सकिने उनले जनाए । ‘परिचयपत्र हुने हो भने यहाँको होटल व्यवसाय अझै फस्टाउने मौका पाउँछ,’ उनले भने, ‘यसो गर्दा उपयुक्त हुन्छ कि ?’ परिचयपत्रको व्यवस्था भए प्रहरीले होटलमा छापा मारिरहने झन्झट बेहोर्नु नपर्ने उनको धारणा थियो । उनले भने, ‘पाहुनाले होटलमा लैजाने यौनकर्मीको परिचयपत्रको आधारमा नाम दर्ता गर्ने हो भने प्रहरीले दु:ख दिइरहन पर्दैन ।’


विभिन्न जिल्लाबाट कर्मचारी पोखरा आउने क्रममा सरकारी अतिथिगृहमा नबसी लेकसाइड जाने गरेको प्रसंग उनले सुनाए । ‘हाम्रै कर्मचारी पनि बिदा मनाउन आउँदा क्वार्टरमा बस्दैनन्,’ उनले सुनाए, ‘लेकसाइड जाने कारण त्यही रहेछ ।’ कर्मचारी बिदा मनाउन आउँदा यौनकर्मी खोज्दै लेकसाइड जाने गरेको उनको आशय थियो ।

अर्थ वाणिज्य

सलाम एयर काठमाडौंमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ओमनको पहिलो बजेट क्यारियर सलाम एयरले मंगलबारदेखि काठमाडौं उडान सुरु गरेको छ । नेपाललाई बाँकी विश्वसँग जोड्ने यो ३१ औं एयरलाइन्स भएको छ ।
यस एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जीएसए) व्यवस्थापन आईएमई समूहको आईएमई इन्टरनेसनल ट्राभल प्रालिले लिएको छ । यस कम्पनीका सीईओ विनोद सापकोटाका अनुसार मस्कटको राजधानीबाट यसले हरेक साता ४ वटा (आइतबार, मंगलबार, बिहीबार र शुक्रबार) उडान गर्नेछ । यो रुटमा साढे ३ घण्टा हाराहारी उडान समय लाग्छ । योसँगै ओमनबाट काठमाडौं उडान गर्ने दुइटा एयरलाइन्स भएका छन् । सलामअघि ओमन एयरले काठमाडौंका लागि उडान गर्दै आएको थियो ।


सन् २०१६ मा स्थापना भएको यसले २०१७ देखि व्यावसायिक यात्रा सुरु गरेको थियो ।

काठमाडौं १६ औं गन्तव्य हो । यो एयरलाइन्ससँग ५ वटा एयरबस ३२० मात्रै छन् । यो रुटमा विदेशी पर्यटकको दाँजोमा नेपाली कामदारको बाहुल्य हुन्छ । अहिले एकतर्फी भाडा १८ हजार रुपैयाँ हाराहारी छ । एयरलाइन्सले मस्कटलाई हब बनाई १ सय ७४ सिट क्षमताका एयरबसबाट ढाका, बाकु, टिवलिस, दोहा, दुबई, सिलकोट, मुल्तान, कराची, खार्तुम, जेद्दामा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । यीबाहेक सलाल र सुहार गरी मस्कटभित्रका दुइटा आन्तरिक क्षेत्रमा पनि यसले उडान गर्दै आएको छ ।


अहिले मध्य पूर्वी क्षेत्रका मुलुकमध्ये दुबईबाट इतिहाद, एयर अरेयिबा र फ्लाई दुबईले काठमाडौंका लागि सीधा उडान गर्छन् । त्यसैगरी कतारबाट कतार एयरवेज र कुबेतबाट वातानियाले उडान गर्दै आएका छन् । यसअघि यूएईको रसलखेबाट र्‍याक एयरवेज र बहराइनबाट गल्फ र बहराइन एयरले पनि काठमाडौं उडान थालेका थिए । तर, हाल यी तीनवटै एयरलाइन्सको सेवा काठमाडौंका लागि बन्द छ ।

Page 14
समाचार

पहिरो सकस : जताततै सडक अवरुद्ध

- प्रदेश ब्युरो
ताप्लेजुङ सदरमुकाम फुङलिङबाट चीनको तिब्बत जोड्ने सडकको लिंखिम खण्ड । सडक फराकिलो नहुँदा सामान्य वर्षामा पनि अवरुद्ध हुने गरेको छ ।तस्बिर : आनन्द गौतम 

(विराटनगर) - केही दिनयताको वर्षाका कारण पहिरो खस्दा विभिन्न जिल्लामा सडक अवरुद्ध बनेको छ । कतै माथिबाट खसेको पहिरो र कतै सडकै भासिँदा यातायात सञ्चालन हुन सकेको छैन । यसले गर्दा यात्रु गन्तव्य पुग्न पाएका छैनन् । खासगरी तीजका अवसरमा माइत र आफन्तकहाँ जाने महिलाहरूको बिचल्ली भएको छ । उदयपुरबाट डिल्लीराम खतिवडा, खोटाङबाट डम्बरसिं राई र ताप्लेजुङबाट आनन्द गौतमको रिपोर्ट :


सिद्धिचरणमा पहिरो
सिद्धिचरण लोकमार्गको उदयपुरमा पर्ने कटारी–घुर्मी खण्ड अवरुद्ध भएको छ । दुई दिनयताको अविरल वर्षापछि कटारी नगरपालिका ८ सिरिसेमा पहिरो खस्दा अवरुद्ध बनेको हो । यातायात सञ्चालन बन्द भएपछि तीजमा माइत जानेहरू बढी समस्या परेका छन् । माथिबाट खसेको पहिरोले मंगलबार सडक अवरुद्ध भएको हो । सोलुखुम्बु, ओखलढुंगा र खोटाङ हिँडेका यात्रु कटारीमै रोकिएका छन् । पर्वका समयमा सडक अवरुद्ध हुँदा कष्ट भएको खोटाङका नरेश ढकालले बताए ।


सोलु, ओखलढुंगा र खोटाङबाट तराईका विभिन्न क्षेत्र हिँडेका यात्रु घुर्मी, गहुबाँरी, बेतेनीलगायत स्थानमा अलपत्र परेको कटारी ११ का वडाध्यक्ष दीपक बुढाथोकीले बताए । पहिरो हटाउने काम भइरहे पनि वर्षा फेरि सुरु भएकाले समस्या भएको उनले जनाए ।


सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कटारीले जनाएको छ । प्रहरीका अनुसार सडक विभाग डिभिजन सडक कार्यालय लहान, नगरपालिका, स्थानीयको सहयोगमा अवरुद्ध सडक खोल्ने काम भइरहेको छ ।


घुमाउरो र साँघुरो सडक सामान्य वर्षामा समेत यात्रा गर्न समस्या छ । ‘झन् पानी परेका बेला त खतरा हुन्छ,’ स्थानीय मनमाया विश्वकर्माले भनिन्, ‘साँघुरो र कालोपत्रे उप्किएर धुलाम्मे भएकाले हिँड्नै समस्या छ ।’


मध्यपहाडी पनि
मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको बर्खेटारमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । तुवाचुङ जायजुमको बर्खेटारमा मंगलबार दिउँसो पहिरो झर्दा यातायात अवरुद्ध भएको हो । सडक अवरुद्धपछि गाडी नचल्दा यात्रु अलपत्र परेका छन् । दिक्तेलदेखि काठमाडौं जाँदै गरेका यात्रु, काठमाडौंदेखि दिक्तेल आउँदै गरेका यात्रु अलपत्र परेका हुन् । त्यस्तै दिक्तेलदेखि धरान, विराटनगर आउजाउ गरिरहेका यात्रु अलपत्र परेको खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।


प्रहरीका अनुसार पहिरोले एक्साभेटरसमेत पुरेको छ । ३० मिटर लामो सडक पुरिएकाले समय लाग्ने डीएसपी केसीले सुनाए । सडक बनाउने बहानामा तुवाचुङ–जायजुममुनि एक्साभेटर प्रयोग गरी ढुंगा दोहन गर्दा त्यसको कम्पनले पहिरो खसेको स्थानीयको भनाइ छ । यस क्षेत्रको सडक निर्माणमा संलग्न सूर्य कन्स्ट्रक्सनले एक्साभेटर प्रयोग गरी ढुंगा निकालेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । गत भदौ १४ र साउन २१ गते पनि पहिरो गएको थियो । पटक–पटक पहिरो गइरहने भएकाले यो क्षेत्रमा यात्रा जोखिमपूर्ण बनेको छ ।


भत्कियो सडक, पुल जोखिममा
सोमबारको पहिरोले ताप्लेजुङको पूर्वी सिरिजंगा गाउँपालिका जोड्ने सडक अवरुद्ध बनाएको छ । निवा खोलाको पुल जोखिममा परेको छ । वडा १ सिनामको अधिकांश सडक पुरेको र भत्काएको छ । वडाध्यक्ष उर्मिला थेबेले सडक सुचारु गर्न र यातायात सञ्चालनका लागि सहयोग गर्न अपिल गरेकी छन् । सदरमुकाम फुङलिङवाट ओलाङचुङगोला जोड्ने उत्तर–दक्षिण लोकमार्ग पनि अवरुद्ध छ । फक्तालुङ गाउपालिका ३, लिंखिम र ४ को तापेथोकमा माथिबाट ठूलठूला ढुंगा झरेर सडक अवरुद्ध बनाएको छ । कतिपय ठाउँमा पहिरोले सडकै बगाएर लगेको छ । अहिले सदरमुकाम फुङलिङबाट साना सवारीसाधन थिवासम्म मात्रै पुग्ने गरेको छ ।


जिल्लाको पूर्वी र उत्तरी क्षेत्र जोड्ने यी निकै व्यस्त सडक हुन् । बस र ट्याक्सी गरी कम्तीमा दैनिक ४ सवारी आवागमन हुन्थ्यो । तर अवरुद्ध यी सडक कसले खुलाउने अन्योल छ । ओलाङचुङगोला जोड्ने सडक, सडक डिभिजनअन्तर्गतको उत्तर–दक्षिण लोकमार्ग आयोजना कार्यालयले हेर्दै आएको छ भने सिरिजंगाको उन्नति समावेशी कार्यक्रमले स्तरोन्नति गरिरहेको छ ।


सिरिजंगा गाउँपालिका अध्यक्ष टीका गुरुङ गाउँपालिकालाई उन्नतिले जिम्मा लगाइनसकेको हुँदा अवरुद्ध सडक उसैले खुलाउनुपर्ने बताउँछन् । ‘जसले ठेक्का पाएको हो, उसैले निर्माण सम्पन्न भएको १ वर्षसम्म अवरोध पन्छाउने काम गर्नुपर्छ,’ उनले भने, ‘हामी उहाँहरू (उन्नति) सँग पन्छाइदिन अनुरोध गर्छौं ।’ यसअघिका स–साना अवरोध भने गाउँपालिकाले मेसिन भाडामा लिएर पन्छाएको गुरुङले बताए । ‘हिँड्न पूरै अवरोध भयो, ठेकदारहरू भेटिएनन्, गाउँपालिकाले नै खोल्यो, अब ठूलो बजेट चाहिने भएकाले उहाँहरूले खोलिदिनुपर्छ,’ उनले भने ।


फक्तालुङ गाउँपालिकाले पनि आयोजना कार्यालयमा सडक पन्छाइदिन लिखितै अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष सरोज एभेङ कार्यपालिकाको बैठकले निर्णय गरी पन्छाइदिन अनुरोध गरेको बताउँछन् । ‘गाउँमै सरकार भएर पनि सडक सुचारु नगर्ने भनेर जनताले दिनहुँ दबाब दिइरहेका छन्,’ उनले भने, ‘खुलाउनु हाम्रो दायित्व पनि हो तर डुब्लिकेसन हुने भएकाले हामीले खोल्न मिल्दैन ।’ आयोजनाले भने कार्यालय रहने नरहने निश्चय नभएको र माथिल्लो निकायबाट बजेट तथा कार्यक्रम नआएकाले तत्काल केही भन्न नसक्ने जवाफ दिएको छ । आयोजनाले काम गर्न नसक्ने जवाफ दिए गाउँपालिकाले बाध्य भएर खोल्नुपर्ने एभेङ बताउँछन् ।


यो सडक भएर ओलाङचुङगोला देखिका यात्रुले यात्रा गर्छन् भने सिरिजंगाको सडक भएर याम्फुदिन, मामांखेदेखिका यात्रु सदरमुकाम र तराईतिर जान्छन् । यी गाउँमा पुग्न सदरमुकामबाट पैदल हिँडेर तीन दिन लाग्छ । वर्षासँगैको पहिरोले सदरमुकाम–सिंवा, सुकेटार–फावाखोला लगायतका अरू सडक पनि अवरुद्ध बनाएको छ ।

समाचार

बलात्कार आरोप लगाउने डर देखाएर ५ लाख ठगी

२ प्रहरीसहित ३ हिरासतमा
- ठाकुरसिंह थारू

 (नेपालगन्ज)- मायालुले आफ्नो प्रेमीलाई फोन गरेर भेट्न बोलाउँछिन् । प्रेमी तुरुन्तै पुग्छन् । होटलको कोठा पहिल्यै बुक गरिएको रहेछ । दुवै कोठाभित्र पस्छन् । भलाकुसारी सुरु हुनासाथ दुई प्रहरी पनि कोठामा छिर्छन् । त्यसपछि ती महिलाले आफूलाई बलात्कार गर्न खोजेको आरोप प्रेमीमाथि लगाउँछिन् । त्यस्तो आरोपपछि प्रहरीले प्रेमीलाई कुटपिट गर्छ । बलात्कार मुद्दा लगाइदिने धम्की दिएर प्रेमीसित १० लाख माग्छन् । युवकले पनि केही दिनको समय माग्छन् । ऋण खोजेर भए पनि ५ लाख रुपैयाँ बुझाएर बलात्कार मुद्दा झेल्नबाट जोगिन्छन् ।


यो फिल्मी कथा होइन । बाँकेको नेपालगन्जमा फिल्मी शैलीमा भएको ठगी घटना हो । बैजनाथ गाउँपालिका ४ की २६ वर्षीया श्रुति हमालले गत भदौ ५ गते पूर्वप्रेमी सोनु अन्सारीलाई राँझामा भेट्न बोलाइन् । अन्सारी पुगेलगत्तै उनले होटलको कोठामा पुर्‍याइन् । ‘लगत्तै दुई प्रहरीले कोठामा छापा मारे । बलात्कार गर्न खोजेको भन्दै अन्सारीलाई कुटपिट गरे,’ इलाका प्रहरी कोहलपुरका प्रमुख रमेशबहादुर सिंहले भने, ‘फिल्मी शैलीको घटना सुनियोजित थियो । योजनासाथ उक्त घटना घटाइएको हो ।’


महिलालाई प्रदान गरिएको कानुनी अधिकार दुरुपयोग गरेको आरोपमा अहिले श्रुति प्रहरी हिरासतमा छिन् । उनलाई सहयोग गर्ने संघीय प्रहरी एकाइ कार्यालयका जवान ओमप्रसाद आचार्य र दंगा नियन्त्रण प्रहरी गणका जवान जगदीश बोहरा पनि पक्राउ परेका छन् । कोहलपुर प्रहरीले तीनै जनाविरुद्ध शरीर बन्धक तथा अपहरण मुद्दा दर्ता गरेको छ । घटना अनुसन्धान गर्ने भन्दै प्रहरीले गुपचुप राखेको थियो । तर, अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालतमा ल्याएपछि सार्वजनिक भयो । प्रहरीले घटना संवेदनशील मान्दै अनुसन्धान थालेको जनायो । प्रेमीलाई प्रलोभनमा पारेर भेट्न बोलाउने र प्रहरी लगाएर पक्राउ गरी बलात्कार मुद्दा लगाउने धम्की दिँदै पैसा असुलेको घटना जिल्लामा पहिलो हो ।


यसले कानुनको दुरुपयोग गरी जोकोहीलाई फसाउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । ‘छिटो पैसा कमाउन उक्त घटना रचिएको रहेछ । प्रहरीको पनि दुरुपयोग गरियो,’ डीएसपी सिंहले भने, ‘त्यसैले यो घटना संवेदनशील छ । हामी अनुसन्धान गर्दै छौं ।’ महिलामाथि हुने यौन दुव्र्यवहार, जबर्जस्ती करणी प्रयास र बलात्कारलाई कानुनले गम्भीर अपराधका रूपमा लिएको छ । बलात्कार गर्नेलाई जन्मकैदसम्मको सजाय छ । तर, कतिपय अवस्थामा त्यही कानुनको दुरुपयोग गरिएको पाइएको छ । ठूला सहरमा ‘हनी ट्रयाप’ प्रवृत्ति बढेका बेला नेपालगन्जमा पनि त्यस्तै घटना भएको छ ।

समाचार

२ छोरालाई झुन्ड्याएर आत्महत्या

एकको मृत्यु, डोरी चँुडिएर जेठो छोरा बाँचे
- कान्तिपुर संवाददाता

(मोरङ) - बुढीगंगा गाउँपालिका २ अमाहीमा एक महिलाले नाबालक दुई छोरालाई झुन्ड्याएर आत्महत्या गरेकी छन् । डोरी चुँडिएर एक छोरा भने बाँच्न सफल भएका छन् ।


स्थानीय २९ वर्षीया कविता यादवले जेठो छोरा १० वर्षीय निशान र कान्छो ५ वर्षीय अमनलाई झुन्ड्याएर आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरको बलोमा नरिवलको डोरीमा झुन्डिएका कविता र अमनको मृत्यु भएको छ । निशान डोरी चुँडिएर बाँचेका हुन् । उनको विराट मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले दुवै छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि आमाले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । बिहान साढे १० बजे प्रहरी घटनास्थल पुग्दा कान्छो छोरा अमन र कविता बलोमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।


निशानलाई झुन्ड्याएको डोरी चुँडिएर भुइँमा लडेको अवस्थामा भेटिएको एसपी केसीले बताए । ‘घटनास्थलको प्रकृति हेर्दा आमाले आत्महत्या गर्नुअघि दुवै छोरालाई झुन्ड्याएर हत्या गर्न खोजेको देखिन्छ,’ उनले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ ।’


बिहान १० बज्दा पनि घरमा चहलपहल नदेखेपछि छिमेकी हेर्न जाँदा ढोका बन्द थियो । स्थानीय सावित्री यादवले पछि टोलका मान्छेहरू आँगनमा जम्मा भएर हल्ला हुन थालेपछि कविताका जेठो छोरा निशान घरभित्र रुन थालेको आवाज सुनेको बताइन् । भित्रबाट ढोका बन्द गरिएको घरमा बच्चा रोएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
कविताको पति अमरलाल यादवको २ वर्षअघि मृत्यु भएको थियो । कवितासँगै केही समयदेखि भारतको फारबिसगन्ज घर भई विराटनगरमा काम गर्दै आएको रामदेव झा बस्दै आएको स्थानीयले बताए । राति कविता र रामदेवबीच झगडा भएको हल्ला छिमेकीले सुनेको बताए । निशानले राति सुतिरहेको बेलामा आमाले सुरुमा भाइ र आफूलाई डोरीले घाँटीमा बाँधेर झुन्ड्याएपछि आफूले पनि डोरी लगाएर झुन्डिएको बताए ।


‘सुतिरहेको बेला आमाले भाइलाई झुन्ड्याउनुभएको थियो,’ उनले भने, ‘पछि मलाई पनि झुन्ड्याउन खोज्दा मैले थाहा पाएँ । आमाले कसैलाई केही नभन्नु भन्दै जोरले कुट्दै कराएपछि मैले केही पनि बोल्न सकिनँ । अनि आमा पनि झुन्डिनुभयो ।’


आमा डोरी लगाएर झुन्डिएको केही बेरमै आफूलाई झुन्ड्याएको डोरी चुँडिएर भुइँमा खसेको उनले बताए । निशानको घाँटीमा डोरीको र शरीरको विभिन्न भागमा कुटेको डाम देखिएको छ । केसीले रामदेव भन्ने व्यक्ति फरार रहेकाले उनको खोजी भइरहेको बताए ।

समाचार

स्याउ बगैंंचामा रम्छन् पर्यटक

- जयबहादुर रोकाया
हुम्लाका किसानको बगैंचामा फलेका लटरम्म स्याउ ।तस्बिर : जयबहादुर

(हुम्ला) - मानसरोवर कैलाश दर्शन गरेर फर्केका एक हुल भारतीय तीर्थयात्री आफू बसेको होटलपछाडि स्याउका बोट देखेपछि रमाउँदै बगैंचा पसे । स्याउ बगैंचामा पसेर उनीहरूले झन्डै एक घण्टा फोटो खिचे र आवश्यकताअनुसार स्याउ किनेर लगे ।


भारतको मुम्बईबाट तीर्थाटनका लागि आएका उनीहरूले बजारमा स्याउका दाना देखे पनि रूख अहिलेसम्म नदेखेको बताए । लटरम्मै फलेका बोटसँगै फोटो खिच्दै मुम्बईकी संगीता रायले जिन्दगीमा पहिलोपटक स्याउको बोट छुन पाएको बताइन् । ‘सिमकोट अत्यन्तै रमणीय स्थल रहेछ, स्याउका रूखले झनै शोभा बढाएको छ,’ उनले भनिन्, ‘ताजा र अर्गानिक स्याउले मनै लोभ्यायो, अनि निकै स्वादिलो रहेछ ।’ उनले स्याउ बगैंचामा रमाएको खुसीमा किसानलाई ५० रुपैयाँ टिप्ससमेत दिइन् । हवाईजहाजको प्रतीक्षा गर्दै होटलमै आराम गरेका तीर्थयात्रीले समूह–समूहमा किसानको अनुमतिमा बगैंचामा घण्टौं रमाइलो गर्ने गरेका छन् । भारतीयले बगैंचाभित्रै व्यक्तिगत र सामूहिक फोटो खिचेका छन् । भारतीय युवादेखि ८५ वर्षकी वृद्धासम्म बगैंचामा रमाए ।


वर्षाका कारण हवाई उडानमा समस्या भएपछि अहिले भारतीय तीर्थयात्री यहाँका स्याउ बगैंचामा रमाउन पाएका छन् । मानसरोवर–कैलाश दर्शनका लागि चीन सरकारले केरुङ र हुम्लाको हिल्सामात्र खुला गरेको छ । केरुङ नाका यो वर्षमात्र खुलाएको हो । केरुङ खुलेसँगै हिल्सा नाका भएर जाने भारतीयको संख्या घटेको भारतीय दूतावासका हुम्ला प्रतिनिधि जनकबहादुर शाहीले बताए । पर्यटन व्यवसायी रिन्जनी लामाका अनुसार अघिल्लो वर्ष १२ हजार ९ सय भारतीय तीर्थयात्री यहाँबाट कैलाश–मानसरोवर गएका थिए ।


भारतीय यात्रीका अनुसार केरुङ नाकाभन्दा हिल्सा सहज र छिटो छ । हिल्सा नाका महँगो भए पनि सजिलो भएको मुम्बई घाटकोयाका कैलाश पटेलले बताए । उनले भारतीयका ट्राभल एजेन्सीमार्फत नेपालका ट्राभल एजेन्सी हुँदै तिब्बतका मार्फत यात्रा गर्नुपरेकाले महँगोमा परेको बताए । उनका अनुसार यात्रा अवधिभर २ लाख खर्च गर्ने सम्झौतासहित उनी मानसरोवर–कैलाश आएका हुन् । यात्रा अवधिमा नेपालभन्दा तिब्बतमा सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ । पटेलका अनुसार तिब्बतमा अक्सिजनका कारण श्वासप्रश्वासमा समस्या हुन्छ । ‘कैलाश परिक्रमा गर्न साउन पूर्णिमाका अवस्थामा घोडा पाइँदैन,’ उनले भने, ‘कसैसँग दलाई लामाको फोटो फेला परे फर्काइदिन्छ ।’


हुम्लामा सामान्यतया प्रतिगोटा ५ रुपैयाँमा स्याउ बिक्री भइरहेको छ । भारतीय तीर्थयात्रीलाई बगैंचा अवलोकन गराउन र यहाँको स्याउको महत्त्व बुझाउन सके किसान लाभान्वित हुने पर्यटन व्यवसायी बताउँछन् । यहाँ आएका अधिकांश तीर्थयात्रीले स्याउ किनेर लाने गरेका छन् ।

Page 15
खेलकुद

इतिहास रच्न आतुर

- हिमेशरत्न वज्राचार्य
साफ च्याम्पियनसिप सेमिफाइनलको अघिल्लो दिन मंगलबार नेपाल र माल्दिभ्सका प्रशिक्षक र कप्तान ट्रफीसाथ ।तस्बिर : कञ्चन अधिकारी

 (ढाका) - प्रशिक्षक बालगोपाल महर्जनलाई विश्वास गर्ने हो भने बुधबार नेपाली फुटबलका लागि ऐतिहासिक साबित हुँदै छ । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । ‘अब नयाँ इतिहास रचिने छ, हामी फाइनल पुग्नेछौं,’ प्रशिक्षक महर्जनले खुबै आत्मविश्वाससँग भनेका छन् ।


यसपल्ट अन्तिम चारमा नेपालको प्रतिद्वन्द्वी छ माल्दिभ्स । माल्दिभ्स त्यही टिम हो, जसका विरुद्ध साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म जित निकाल्न सकेको छैन । यस्तोमा कसरी सम्भव हुन्छ त माल्दिभ्सविरुद्ध जित ? यसका आधार के हुन् त ? इतिहासकै प्रसङ्गमा सबैभन्दा पहिला पुराना दिनका कथा कोटयाउनु ठीक हुन्छ ।


नेपालका लागि माल्दिभ्स निकै पुरानो प्रतिद्वन्द्वी हो । सन् १९८४ मा नेपालले पहिलोपल्ट खेलेको थियो । अवसर थियो दक्षिण एसियाली खेलकुद । त्यति बेला माल्दिभ्सको फुटबल भर्खर बामे सर्दै थियो र यो टिम नआउला भनेर नेपालका केही प्रतिनिधि राजधानी माले नै पुगेका थिए, खेलाडीलाई काठमाडौं ल्याउन ।


त्यसयता माल्दिभ्स सरकारले नै फुटबलमा लगानी गर्न थाल्यो र हेर्दा हेर्दै टिम धेरै माथि पुग्यो । नेपाली फुटबललाई ईष्र्या लाग्ने एउटा विषय यही पनि हो, माल्दिभ्सले फुटबलमा गरेको प्रगति । यो प्रगति पनि कस्तो भने माल्दिभ्सको सामना गर्दा नेपाल दबाबमा आउने र अधिकांस समय पराजित नै रहने । साफ च्याम्पियनसिपमा अहिलेसम्म नेपालले माल्दिभ्सलाई हराउन नसक्नु पनि त यही कारणले हो । अली अस्फाकसहितको माल्दिभ्स नेपालमाथि हाबी रहँदै आएको छ ।


दक्षिण एसियाली फुटबलले पाएका सबैभन्दा ठूला दुई स्टारमा एक भाइचुङ भुटिया हुन् भने अर्को यिनै अस्फाक । फुटबलमा एउटा के नियम छ भने कुनै टिमले गति लिन्छ भने त्यसमा एक दिन न एक दिन पूर्णविराम आवश्यक हुन्छ । माल्दिभ्सको अहिलेको टिम यही स्थितिबाट गुज्रिरहेको छ । अब माल्दिभ्सको फुटबल त्यस्तो रहेन, जुन पहिला थियो । यसको ठीक उल्टो, नेपाली टिम पनि अब त्यस्तो रहेन, बरू बलियो भएको छ र यसपल्टको प्रतियोगिताकै क्रममा अब्बल हुँदै छ ।


खस्कँदै माल्दिभ्सको फुटबल
पछिल्लो समय माल्दिभ्सको फुटबल एकपछि अर्को विवादबाट गुज्रिरहेको छ । त्यहाँको फुटबलमा अचेल कलहमात्र पाइन्छ । त्यसैले त्यहाँको फुटबल फुटबाट गुज्रिरहेको छ । यसको असर टिमको प्रदर्शनमा पनि पर्ने नै भयो । अहिलेको टिममा अस्फाक छैनन् । अधिकांस खेलाडी नयाँ र युवा छन् । सायद माल्दिभ्स यसपल्ट सेमिफाइनलका लागि पनि योग्य थिएन । आखिरमा एउटै खेल नजितेको अनि एउटै गोल नगरेको टिम कसरी अन्तिम चारका लागि हकदार हुनसक्छ र ?


प्रतियोगिताको समूह चरणमा खराब खेल्नेमा एक माल्दिभ्स पनि हो । श्रीलंकाविरुद्ध गोलरहित खेल खेलेको माल्दिभ्स भारतको हातबाट २–० ले पराजित रह्यो । ‘टस’ मा भाग्य उसकै पक्षमा रहेर मात्र माल्दिभ्सले सेमिफाइनल खेल्न लागेको हो । यस्तै प्रदर्शनका कारण माल्दिभ्स मिडियामा टिम र यसका प्रशिक्षक पेटर सेगरट खुबै आलोचना भइरहेको छ । त्यसैले सेमिफाइनल अगाडि आयोजित प्रि(म्याच कन्फ्रेन्समा उनी आक्रोसित हुँदै प्रस्तुत भए ।


उनको भनाइ थियो, ‘माल्दिभ्सको मिडिया र केही फुटबल पदाधिकारी किन हाम्रो टिम सेमिफाइनलमा हारोस् भन्ने चाहन्छ, म यो तथ्य बुझ्दिनँ । सबैले सोधिरहेका छन्, टिममा किन अस्फाक छैनन् भनेर ? मेरो काम टिममा नभएका खेलाडीलाई लिएर चिन्ता गर्ने होइन । अहिले टिममा जति खेलाडी छन्, म तिनीबारे मात्र बोल्न सक्छु । यो टिम नयाँँ छ र यही टिम भविष्यमा गएर माल्दिभ्स फुटबलको आधार हुनेछ ।’ उनी एउटा के तथ्यमा सहमत छन् भने टिमलाई सधैं भाग्यले साथ दिँदैन, नेपालविरुद्ध टिमलाई पक्कै मिहिनेत गर्नुपर्नेछ ।


नेपाली पक्षको दाबी
इतिहासले भन्छ, नेपालमाथि माल्दिभ्स हाबी छ । तर नेपाली प्रशिक्षक महर्जन वर्तमानमा केन्द्रित हुन जोड दिइरहेका छन् । ‘हामीले पछिल्लो समय माल्दिभ्सलाई दुई सेमिफाइनलमा हराएका छौं । पहिलो बंगबन्धु गोल्डकप, दोस्रो दक्षिण एसियाली खेलकुदको फुटबलमा । यसपल्ट पनि जितेर हामी माल्दिभ्समाथि सेमिफाइनलमा जितको ह्याट्रिक उपलब्धि हात पार्न चाहन्छौं,’ उनको भनाइ छ । नेपालले सन् २०१६ मा ढाकामै बंगबन्धु गोल्डकपको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ ले हराएको थियो ।


त्यसमा नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । प्रतियोगिताको समाचार संकलन गर्न ढाका आएका जति पनि पत्रकार छन्, सहभागी सातै टिमका जति पनि प्रशिक्षक छन्, ती सबैको एउटै भनाइ हो, अहिलेसम्मको खेलको आधारमा सबैभन्दा बलियो टिम नै नेपाल हो ।


भारतका सहायक प्रशिक्षक बैंकटपतिले मानेका छन्, प्राविधिक रूपमा नेपाली खेलाडी अब्बल दर्जाका छन् । प्राविधिक भाषा भन्ने हो भने नेपाल प्रतियोगिताको ‘टिम अफ द मोमेन्ट’ हो ।


नेपाल जसरी सेमिफाइलन पुगेको छ, त्यो नै प्रशंसायोग्य छ । पाकिस्तानविरुद्ध पहिलो खेल गुमाएर नेपाल खुबै दबाबमा आयो । भुटानलाई हराएर पनि नेपालमाथि यस्तै चर्को दबाब थियो । अन्तिम खेल बंगलादेशविरुद्ध थियो र त्यसको अन्तिम मिनेटसम्म पनि नेपाल ढुक्क हुन सकेको थिएन । अन्त्यमा नेपालले त्यो खेल जित्यो नै, समूह विजेता पनि बन्यो । नेपाली फुटबल इतिहासमै यो अहिलेसम्मकै सबैभन्दा सुन्दर पुनरागमन हो । टिमले जति बेला यस्तो गति लिन्छ, त्यो नै जितको हकदार हुन्छ ।


‘टिममा कुनै प्रकारको समस्या छैन, सबै खेलाडी सेमिफाइनललाई उत्साही छन्,’ प्रशिक्षक महर्जनले भनेका छन्, ‘सेमिफाइनलमा सबै खेलाडीले आफ्नो शतप्रतिशतभन्दा बढी दिने छन् । साफ च्याम्पियनसिपको फाइनल पुग्ने र उपाधि जित्ने यो भन्दा राम्रो अवसर फेरि आउने छैन, हामी यो अवसर गुमाउने पक्षमा छैनौं ।’ कम्तीमा कागजमा नेपाल माल्दिभ्सविरुद्ध
यति बलियो भएको यो लामो समयपछि पहिलोपल्ट हो । यसलाई सही साबित गर्न नेपालले मैदानमा पनि त्यसैअनुसार खेल भने पस्किनुपर्नेछ । यो नै एकमात्र आवश्यकता हो ।

आजका खेल
नेपालविरुद्ध माल्दिभ्स
१५: ४५ बजे


भारतविरुद्ध पाकिस्तान
१९: १५ बजे

 

 

खेलकुद

कीर्तिमान छुने लक्ष्य

- कान्तिपुर संवाददाता

ढाका (कास)– साफ च्याम्पियनसिप २०१८ मा बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्त्वपूर्ण थियो । किनभने यसमा स्पष्ट जितबिना टिमको सेमिफाइलन यात्रा टर्ने निश्चित थियो । नेपालले यसैमा सनसनीपूर्ण जित निकाल्नै प्रतियोगिताको समूह ‘ए’ विजेता बन्यो र सानले अन्तिम चारमा प्रवेश गर्‍यो । त्यस खेलका कप्तान थिए भरत खवास । यो खेल उनका लागि निकै सम्झनलायक हुनेछ । यसै खेलबाटै उनले नेपालका लागि पूरा गरेका छन्, ५० औं क्याप ।
अर्थात् बंगलादेशविरुद्धको खेलबाट उनले नेपालको राष्ट्रिय जर्सीको यात्रा अर्धशतक पुर्‍याए । साफ च्याम्पियनसिप खेलिरहेका अहिलेका खेलाडीमध्ये उनीभन्दा बढी खेल्नेमा नियमित कप्तान विराज महर्जन, किरण लिम्बु र रोहित चन्दमात्र छन् । किरण र रोहित दुवैले भरतपछि मात्र नेपालका लागि डेब्यु गरेका हुन् । घुँडाको चोट र अरू कारण धेरै खेल गुमाउनु नपरेको भए, उनी विराजसँगै नेपालका लागि सर्वाधिक खेल खेल्नेको होडमा हुन्थे ।


एन्फा एकेडेमीका उत्पादन भरतको सानो छँदादेखि मिल्ने साथी हुन्, तिनै विराज । संयोगले भरतले पनि विराजसँगै एउटै खेलमा डेब्यु गरेका थिए, पोखरामा सम्पन्न पाकिस्तानविरुद्ध फ्रेन्ड्लीमा । सन् २००८ मार्च २५ को खेल थियो, त्यो । फ्रेन्ड्ली सिरिजको त्यो पहिलो खेल उनीहरू दुईका लागि मात्र नभएर चुनबहादुर थापा, सन्दीप राई र नीराजन
खड्काको पनि पहिलो खेल थियो । अर्को संयोग के पनि भइदिएको छ भने निराजनले यसपल्टको साफ च्याम्पियनसिपबाट नेपाली टिममा पुनरागमन गरेका छन् ।


चुनबहादुरले खेल्न छाडिसके भने सन्दीपमाथि आजीवन प्रतिबन्ध छ । डेब्युयता उनले नेपाली टिममा नियमित स्थान पाउन संघर्ष गर्नुपरेको थियो, त्यति बेलाका प्रशिक्षक थोमस फ्लाथले उनलाई धेरै अवसर दिएनन् । नेपाली टिमको प्रशिक्षकमा ग्राहम रोबर्टसको आगमनयता भने भरतले नियमित अवसर पाउन थाले । यही क्रमलाई त्यसपछिका प्रशिक्षक कृष्ण थापा र ज्याक स्टेफानोस्कीले पनि कायम राखे । त्यसयताका केही खेल उनले गुमाए, घुँडाका चोटका कारण गुमाए ।


यसक्रममा उनले सन् २०१५ को साफ च्याम्पियनसिप गुमाए । त्यसपछि भने उनी नियमित टिममा छन् । विराजको अनुपस्थितिमा उनले तीन अवसरमा कप्तानी पनि गरिसकेका छन् राष्ट्रिय टिमको । उनले नेतृत्व पहिलो खेल एसिया कप छनोटको फिलिपिन्सविरुद्धको खेल थियो । उनी नेपालका सर्वाधिक गोल गर्ने खेलाडीको होडमा पनि छन् । उनले नेपालका लागि १० गोल गरिसकेका छन् । यसपल्टको साफ च्याम्पियनसिपमा पनि उनले भुटानविरुद्ध गरेका छन् ।


‘धेरै कारणले मैले नेपालका लागि केही खेल गुमाएँ । अब मेरो लक्ष्य नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान छुनु हुनेछ । आउने केही वर्ष म यसैमा केन्द्रित हुने छु र कडा मिहिनेत हुनेछु,’ उनले भनेका छन् । नेपालका लागि सर्वाधिक १३ गोल गर्ने दुई खेलाडी हरि खड्का र नीराजन रायमाझी । उनले आउने केही वर्ष कडा मिहिनेत गर्ने हो भने उनीसामु सर्वाधिक गोल र खेल दुवैको कीर्तिमान छुने अवसर हुनेछ ।

खेलकुद

एपीएफ र न्यु डायमन्ड भिड्ने

- कान्तिपुर संवाददाता
न्यु डायमन्ड र चितवन टाइगर्स भिड्दै ।

लेखनाथ (कास)– डिफेन्डिङ च्याम्पियन एपीएफ र साबिक उपविजेता न्यु डायमन्ड एकेडेमी नै तीज राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । लामाचौरको तीज मेलाका अवसरमा भइरहेको प्रतियोगितामा मंगलबार सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मीलाई हराएको हो भने न्यु डायमन्डले चितवन टाइगर्समाथि जित पायो । न्यु डायमन्डले २५–१७, २५–२३, २५–१८ को सोझो सेटमा जित पाउँदै फाइनल पक्का गर्‍यो । दोस्रो सेमिफाइनलमा एपीएफले आर्मीलाई २५–२२, २५–२०, २५–२१ को सोझो सेटमा हरायो । फाइनल बुधबार हुनेछ ।
यसअघि दुईटा लिग चरणका खेल भए । न्यु डायमन्डले आर्मीलाई २५–१४, २५–१९, २५–१९ को सेटमा पन्छाउँदा आर्मीले टप्स माविलाई २५–२१, २५–१९, २५–१० को सोझो सेटमा हराएको थियो । तेस्रो स्थानमा बुधबारै चितवन टाइगर्स र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।


आयोजक नवआदर्श सामुदायिक विकास समाजका अनुसार विजेताले १ लाख र उपविजेताले ६५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

खेलकुद

पुष्पसदन र रिलायन्स च्याम्पियन

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पुष्पसदन र रिलायन्स स्कुल २५ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा च्याम्पियन भएका छन् । मंगलबार पुष्पसदन ब्वाइज र रिलायन्स गल्र्समा च्याम्पियन भए ।
ज्ञानोदय बालबाटिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा पुष्पसदनले श्रीदिवालाई ५७–३६ ले हरायो । पुष्पसदनका सन्जिव बोहराले २१ स्कोर गरे ।


गल्र्स फाइनलमा डिफेन्डिङ च्याम्पियन रिलायन्सले इनोभेटिभलाई ३४–२० ले हराउँदै उपाधि रक्षा गर्‍यो । रिलायन्सकी कविता श्रेष्ठले १३ स्कोर गरिन् । ब्वाइजमा पुष्पसदनका निशान महर्जन तथा गल्र्समा रिलायन्सकी आरती राउत ‘मोस्ट भ्यालुएबल प्लेयर’ चुनिए ।

खेलकुद

माउन्ट ग्लोरी विजेता

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– माउन्ट ग्लोरीले प्रथम अन्तरस्कुल वडास्तरीय छात्र फुटसलको उपाधि जितेको छ ।


मंगलबार फाइनलमा माउन्ट ग्लोरीले काभ्यालाई ६–३ गोलले हरायो । माउन्ट ग्लोरीका चन्दन दास र आयुश घलानले ह्याट्रिक गरे । चन्दन उत्कृष्ट फरवार्ड चुनिए । पारामाउन्टका अनिश तामाङ उदीयमान खेलाडी भए भने गोलरक्षकमा काभ्याका मन्जिल श्रेष्ठ र डिफेन्समा हिमालयनका रितेश शेरचन उत्कृष्ट ठहरिए ।

खेलकुद

मास्टर्स चेस बिहीबारदेखि

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नमुना बौद्ध चेस क्लबको आयोजनामा मास्टर्स च्याम्पियनसिप चेस प्रतियोगिता हुने भएको छ । भदौ २८ देखि ३१ सम्म चल्ने प्रतियोगितामा नेपालका शीर्ष वरीयताका खेलाडीसँगै क्लबका सदस्यले प्रतिस्पर्धा गर्नेछन् । कुल ३८ प्रतियोगीले भाग लिने प्रतियोगिता स्वीस लिग पद्दतिमा सात राउन्ड चल्नेछ । कुल १ लाख ३५ हजार रुपैयाँ पुरस्कार राशिको प्रतियोगिताका शीर्ष तीन खेलाडीले क्रमश: ५०, ३० र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा हालसम्मका सम्पूर्ण नेपाल पुरुष र महिला च्याम्पियनको फोटो प्रदर्शनी गरिनेछ ।

Page 16