You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

अपराध कबुल गराउन यातना

- भवानी भट्ट
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नहरूलाई कारबाहीको माग राख्दै राजधानीको माइतीघर मण्डलामा बिहीबार साँझ मैनबत्तीसहित प्रदर्शनमा सहभागी निर्मलाका आमाबुबा र अधिकारकर्मी । तस्बिर : हेमन्त श्रेष्ठ

 (कञ्चनपुर) - ‘सय जना दोषी उम्किऊन् तर एउटा निर्दाेष नफसोस्’ अपराध अनुसन्धानमा यही कुरालाई मुख्य ध्यान दिइन्छ तर निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा भने यसको विपरीत भयो । अनुसन्धानका नाममा प्रहरीले शारीरिक र मानसिक अवस्था ठीक नभएका तथा घटनासँग सरोकारै नभएका निर्दाेषलाई फसाउन मात्रै खोजेन, बिनाकारण हिरासतमा राखेर यातनासमेत दियो ।


प्रहरीले गरिब र सोझालाई छानी–छानी नियन्त्रणमा लिई चरम यातना दिएर अपराध कबुल गराउन खोजेको पीडित बताउँछन् । डर, धम्की र त्रास देखाएर पटक–पटक बलात्कार र हत्या कबुल गर्न दबाब दिएको उनीहरूको भनाइ छ ।


भदौ ४ गते प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका–१९, बाग्फाँटाका दिलीप विष्टको मानसिक अवस्था पहिले पनि ठीक थिएन । २४ दिनपछि हिरासतमुक्त हुँदा उनको अवस्था झन् बिग्रेको छ । हिरासतमा रहँदा प्रहरीले दिएको यातनाका कारण उनी घरपरिवारका सदस्य देख्दै डराउन थालेका छन् । ‘उसको जीवन त खत्तम पारिदियो, त्यसै पनि दिमाग ठीक थिएन, अब त झन् सम्हालिसाध्य छैन,’ बुबा कमलसिंहले भने, ‘डराएर मान्छे नजिक आउनै मान्दैन, प्रहरीले निकै यातना दियो भन्छ ।’ दिलीपलाई भदौ ३ गते पक्राउ गरेको प्रहरीले दाबी गरेको छ तर कमल भने २ गते नै लगेको बताउँछन् ।


दिलीपलाई प्रहरीले मंगलबार मुद्दा चलाउन यथेष्ट प्रमाण नभेटिएको भन्दै छाडेको छ । उनको डीएनए रिपोर्ट पनि निर्मलाको शरीरबाट लिइएको नमुनासँग मिलेन । मानसिक अवस्था र यौन उत्तेजनाबारे पनि उनको स्वास्थ्य परीक्षण गरिएको छ । उक्त परीक्षणबाट केही खुल्न नसकेको प्रहरीले जनाएको छ । निर्दाेष व्यक्तिलाई बलात्कारी भनिएको र चरम यातना दिइएकाले मानहानि तथा क्षतिपूर्तिका लागि मुद्दा दायर गर्न लागेको उनले बताए । ‘तर मुद्दा दिन डर लागिरहेको छ, हामी सोझो मान्छे, फेरि फसाउने हुन् कि ?’


उनले भने, ‘जे भए पनि बदनाम त गराइहाले, छोराले अनावश्यक दु:ख पायो, क्षतिपूर्ति त माग्नैपर्ला ।’


‘गोली ठोक्ने धम्की दिए’
हिरासतमा यातना पाउने अर्का व्यक्ति हुन् भीमदत्त नगरपालिका–२, उल्टाखामकै २१ वर्षीय चक्रदेव बडु । निर्मलाको शव भेटिएको उखुबारीछेउमै घर भएका बडुलाई प्रहरीले साउन २१ गते सोधपुछका लागि पक्राउ गरेको हो । उक्त दिन उनीसँगै घरका अन्य सदस्यलाई पनि प्रहरी कार्यालय ल्याइएको थियो । अरूलाई साँझ छाडियो तर चक्रलाई छाडिएन । ‘पक्राउ गरेकै दिनदेखि डर देखाउने, धम्क्याउने र यातना दिन सुरु भयो,’ चक्रले भने, ‘दिनमा तीनपटक फरक–फरक टोली आउँथे, उनीहरू कसरी हत्या गरिस्, अरू को–को छन्, यो घटना मैले गरेको हँ‘ भन् भन्दै धम्क्याउँथे ।’ अपराध कबुल नगरे गोली ठोक्ने, घरपरिवारका सबैलाई जेल हाल्ने धम्की दिएको उनले बताए ।


चक्र भारतको मुम्बईमा होटलमा काम गर्थे । वैशाखमा घर फर्किएपछि विवाह गरेका हुन् । फेरि जाने तयारीमा रहेका बेला प्रहरीले पक्राउ गरेर यातना दिएपछि उनी मानसिक बिरामी बनेका छन् । ‘राति पनि आइहाल्यो, समातिहाल्यो भनेर कराउँछ,’ बुबा रामदत्त भन्छन्, ‘प्रहरीले पक्रेकै बेलादेखि उसको अवस्था ठीक छैन ।’


बलात्कार र हत्यासम्बन्धी घटना अनुसन्धान सिलसिलामा पक्राउ गरिएका उनलाई प्रहरीले सार्वजनिक अपराध मुद्दा लगाएको थियो । उनी ११ औं दिन ५ हजार धरौटीमा छुटेका हुन् । चक्रलाई हिरासतमा लिएका बेला प्रहरीहरू घरमा पुगेर बुबाआमा र अन्यलाई पनि डर देखाउने, धम्क्याउने गरेको रामदत्त बताउँछन् । ‘यो प्रशासनले मलाई त दिनुसम्म दु:ख दियो,’ उनले भने, ‘यस्ताबाट हामीले के आशा राख्ने ?’ उनले अब पनि क्षतिपूर्ति र न्यायका लागि कतै निवेदन नदिने बताए ।


साथीको नाम मिल्दा यातना
भीमदत्त नगरपालिका–२, उल्टाखामकी १८ वर्षीया हेमन्ती भट्टले पनि प्रहरीबाट चरम यातना पाइन् । स्थानीय जनज्योति बहुमुखी क्याम्पसमा आईएड दोस्रो वर्षमा अध्ययनरत उनले साथीको नाम निर्मलासँग मिलेका कारण यातना पाएकी हुन् ।


डडेलधुराको परशुराम नगरपालिकाकी निर्मला धामी हेमन्तीसँगै पढछन् । उनीसँग मोबाइल छैन । हेमन्तीकै मोबाइलबाट निर्मला आफ्ना साथी र आफन्तलाई फोन गर्थिन् । कहिलेकाहीँ हेमन्ती घरमा भएका बेला पनि निर्मलालाई खोज्दै फोन आउँथ्यो । हेमन्ती आफू घरमा भएको र दोस्रो दिन क्याम्पसमा कुरा गराइदिने भन्दै फोन राख्थिन् । यही कुरालाई लिएर प्रहरीले उनीमाथि निगरानी बढाई दिनहँ‘ जिल्ला प्रहरी कार्यालयमा बोलाएर यातना दिएको हो ।


‘तैंलै ककसलाई मिलाएर हत्या गरिस्, भन्, को–को छन् भन्दै धेरै डराए,’ हेमन्ती भन्छिन्, ‘तैंले नै हत्या गरेकी होस्, यो नस्विकारे तेरो जिन्दगी बर्बाद गरिदिन्छौं भन्थे ।’ उनलाई साउन १८ गते घरमा खाना पकाइरहेका बेला १२ बजेतिर प्रहरीले सोधपुछ गर्न‘पर्ने भन्दै लगेको थियो । त्यस दिन ६ घण्टा नियन्त्रणमा राखेर दोस्रो दिन हाजिर हुने गरी छाडियो । दोस्रो दिन १२ बजे जिप्रका जाँदै गर्दा बाटाबाटै प्रहरीले लग्यो । उक्त दिन पनि त्यसरी नै डराउने, धम्क्याउने काम भयो ।


हेमन्तीलाई ६ दिन लगातार प्रहरीले नियन्त्रणमा लियो । एक दिन त क्याम्पसमा पढिरहेकै बेला अपराधीजस्तै व्यवहार गरेर लग्यो । ती दिनको यातना उनले अझै बिर्सन सकेकी छैनन् । ‘तैंले कबुल गरे केही हुँदैन, नत्र तेरो जीवन तहसनहस पारिदिन्छु भन्थे,’ उनले भनिन्, ‘एक दिन त खुट्टा माथि र टाउको तल गरेर कुटपिट गरे ।’ उनका बुबा गोकलेश्वर भट्ट जनप्रतिनिधिसहित प्रहरी कार्यालय गएपछि साउन २७ गते कागज बनाएर छाडियो । एसपी डिल्लीराज विष्टले कतै पनि उजुरी नगर्ने सहमति गरेर छाडेको उनले बताइन् । उनले पनि अब क्षतिपूर्तिका लागि कतै नधाउने बताएकी छन् ।


निर्मलाको शव भेटिएलगत्तै गृहमन्त्री रामबहादुर थापाले संसद्मा दुई जनालाई पक्राउ गरेको जानकारी गराएका थिए । मन्त्री थापाले संसद्मा निर्मला हत्या घटनामा पक्राउ परेकाबारे जानकारी दिएको भोलिपल्ट प्रहरीले दुवैलाई रिहा गरेको थियो । उनीहरू कैलाली, महोन्यालका जीवन घर्तीमगर र भीमदत्त १८, भगतपुरका दीपक नेगी हुन् । उनीहरूलाई पनि प्रहरीले अपराध कबुल गर्न यातना दिएको थियो । घर्तीमगर मानसिक अवस्था ठीक नभएका व्यक्ति हुन् भने नेगी बिरामी छन् ।

गृह पृष्ठ

एसपी विष्टको डीएनए जाँच

- जनकराज सापकोटा

 (काठमाडौं) - कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिन अनुसन्धानमा संलग्न उच्च प्रहरी अधिकारीतर्फ नै सोझिएको छ ।


प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्टको डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरेको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका फोरेन्सिक विशेषज्ञ प्रा.डा. हरिहर वस्तीले बिहीबार नमुना संकलन गरेर प्रहरीलाई बुझाएका हुन् । ‘मैले आज बिहान डीएनए परीक्षणका लागि एसपी विष्टबाट नमुना संकलन गरेर प्रहरीलाई बुझाएको छु,’ डा. वस्तीले भने ।


प्रहरी प्रवक्ता शैलेश थापाले एसपी विष्ट, उनका छोरा किरण र कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको रगतको नमुना संकलन गरिएको जानकारी दिए । यसरी संकलित नमुना डीएनए प्रोफाइलिङ गर्नका निम्ति प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकिएको छ । प्रवक्ता थापाले जनस्तरबाट शंका गरिएका व्यक्तिको पनि डीएनए टेस्ट गर्न थालिएको बताए । उनले भने, ‘हामीले शंका लागेका सबैमाथि निगरानी र अनुसन्धान गरिरहेका छौं ।’


प्रहरी प्रधान कार्यालयले निर्मला प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीको भूमिकामाथि छानबिन गर्न एसएसपी उत्तम सुवेदीको नेतृत्वमा छुट्टै पाँच सदस्यीय समितिसमेत गठन गरेको छ । थापाले यस्तो टोली केही दिनअघि नै बनाइएको बताए । स्रोतका अनुसार मानसिक सन्तुलन ठीक नभएका दिलीपसिंह विष्ट अभियुक्त नभएको पुष्टि डीएनए परीक्षणबाट भएपछि एसएसपी सुवेदी नेतृत्वको समितिले नयाँ ढंगले अनुसन्धान अगाडि बढाएको छ ।


प्रवक्ता थापाका अनुसार यो समितिले काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्लास्थित प्रहरी कार्यालयका अनुसन्धान अधिकारीको कामकारबाहीबारे छानबिन गर्नेछ । अनुसन्धानमा प्रहरीको भूमिका त्रुटिपूर्ण रहेको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले टोली गठन गरेको हो । समितिले अनुसन्धानमा खटिएका प्रहरीसँग छुट्टाछुट्टै बयान लिइरहेको छ ।


निर्मला हत्या घटना अनुसन्धानका लागि गठन गरिएको यो दोस्रो छानबिन टोली हो । गृह मन्त्रालयले बनाएको छुट्टै छानबिन टोलीले अहिलेसम्म अनुसन्धान प्रतिवेदन बुझाइसकेको छैन । स्रोतका अनुसार गृहले बनाएको र प्रहरी प्रधान कार्यालयले बनाएका दुवै समितिले समानान्तर रूपमा काम गरिरहेका छन् ।


दबाबमा प्रहरी
संसद् र सडक दुवैतिरबाट दोषी पत्ता लगाउन दबाब बढिरहँदा प्रहरी रक्षात्मक बन्दै गएको छ । स्रोतका अनुसार अनुसन्धानमा गृह मन्त्रालयका अधिकारीहरूको संलग्नतालाई प्रहरीका उच्च अधिकारीले त्यति रुचाइरहेका छैनन् । नाटकीय रूपमा राजीनामा फिर्ता लिएका छानबिन समितिका उपसचिव वीरेन्द्र केसीको भूमिकालाई पनि प्रहरीका उच्च अधिकारीले छानबिन समितिको असफलताका रूपमा अथ्र्याएका छन् । प्रहरीको आन्तरिक छानबिनको परम्परागत प्रणालीलाई पन्छाएर गृह अघि सरेको र छानबिन समितिले १५ दिन बितिसक्दा पनि प्रतिवेदन नदिएकाले घटना थप गिजोलिन पुगेको उनीहरूको बुझाइ छ ।


‘अपराध अनुसन्धानका बारेमा ज्ञान नभएका प्रशासनिक अधिकारीलाई अनुसन्धान जिम्मा दिनु नै गलत थियो,’ एक प्रहरी अधिकारीले भने । ती अधिकारीका अनुसार घटनालाई होल्ड गर्न र गल्ती सच्याउन तत्काल कदम चाल्न प्रहरी महानिरीक्षक चुकेका कारण प्रहरीको चौतर्फी आलोचना भइरहेको छ ।


त्यसो त कञ्चनपुर घटनालगत्तै जिल्ला प्रहरी कार्यालयले दिएको सूचनाको आधारमा गृहमन्त्री थापाले नामै किटेर दुई जना अभियुक्त पक्राउ परेको सूचना संसद्लाई दिएका थिए । तर, ती दुवै जना केही दिनमै निर्दोष ठहरिए । प्रहरीको गलत सूचनाका कारण आफू गुमराहमा परेको निष्कर्षमा पुगेका गृहमन्त्रीले त्यसको केही दिनमै गृह मन्त्रालयकै नेतृत्वमा छानबिन कमिटी गठन गरेका थिए ।


अबको अनुसन्धान ?
घटनालगत्तै स्थानीयले शंकाको घेरामा राखेका बम दिदीबहिनी छुटिसकेका छन् । प्रहरीले दुईजनामध्ये दिदी बबिताको पोलिग्राफ टेस्ट गरेको थियो । जसबाट उनीहरूमाथिको शंका प्रमाणित हुन सकेन । १६ वर्षभन्दा कम उमेरका कारण रोशनीको भने पोलिग्राफ टेस्ट गरिएन । प्रहरीले मुख्य अभियुक्तका रूपमा उभ्याएका दिलीपसिंह विष्ट पनि निर्दोष ठहरिए । प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीका अनुसार घटनाबारे अनेकन तथ्य आएका छन् तर त्यसलाई पुष्टि गर्ने आधार कतैबाट जुट्न सकेको छैन ।


स्थानीय बासिन्दाले शंकाको घेरामा राखेका निलम्बित एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षणका लागि नमुना संकलन भइसकेको छ । उनीहरूको रिपोर्ट आएपछि निर्मलाको भेजाइनल स्वाबमा भेटिएको वीर्यको नमुनाबाट निकालिएको डीएनएसँग म्याच गरिनेछ । प्रहरीले बलात्कार र हत्या घटनामा संलग्न रहेको हुन सक्ने आशंकामा आफ्नो डीएनए टेस्ट गर्न स्याम्पल लिएको स्वीकार गर्दै निलम्बित एसपी विष्टले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन् । ‘निर्मलाको हत्यारा पत्ता लगाउन राज्यले गर्ने कुनै पनि अनुसन्धानमा सहयोग गर्न म तयार छु,’ उनले भने, ‘मेरो र परिवारको डीएनए परीक्षणका लागिसमेत तयार छु ।’


घटनास्थल मुचुल्का उठाउने बेलादेखि नै भएका त्रुटिको निरन्तरताका कारण घटनासँग सम्बन्धित धेरै प्रमाण नष्ट भइसकेको गृहको छानबिन समितिको प्रारम्भिक अनुसन्धानले देखाएको छ । निर्मलाको अन्तरवस्त्र र अन्य वस्त्र पनि जलाइसकिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको भोलिपल्टै निर्मलाको शव जलाइएको थियो । शव जलाउने क्रममा घटनास्थलबाट भेटिएका कपडा पनि जलाइएको एक प्रहरी अधिकारीले बताए । ती प्रहरी अधिकारीका अनुसार सीआईबी टोलीले यो कुरा शव जलाएपछि मात्रै थाहा पाएको थियो ।


प्रहरीको अनुसन्धान अधिकारीका अनुसार उक्त कपडा नजलाइएको भए त्यसमा रौं, वीर्य वा रगतको कुनै न कुनै प्रमाण भेटिन सक्ने सम्भावना रहन्थ्यो । बम दिदीबहिनीको घरबाट निस्केपछि निर्मला कहाँ गइन् भन्नेमा प्रहरीले पछिल्लो अनुसन्धान केन्द्रित गरे पनि त्यसबारे अनेकन अपुष्ट सूचनाबाहेक प्रहरीले ठोस कारण पत्ता लगाइसकेको छैन ।


केन्द्रीय अनुसन्धान ब्युरोको नयाँ टोलीले सुरु चरणबाट अनुसन्धान थाले पनि केही नयाँ तथ्य फेला पारेको छैन । त्यसो त प्रहरी महानिरीक्षक खनाल कञ्चनपुर पुगेका बेला स्थानीय अधिकारकर्मी महिलाले घटनाबारे केही नयाँ तथ्य सुनाएका थिए । तर, त्यसको पनि प्रहरीले पुष्टि गरिसकेको छैन ।

गृह पृष्ठ

न्याय माग्दा बन्दुकको नाल

- घनश्याम खड्का
निर्मलाका आमाबुबासहित काठमाडौं आएकी महिला अधिकारकर्मी लक्ष्मी मल्ल

 (काठमाडौं) - कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमासँगै यतिबेला ९ अधिकारकर्मी महिला पनि आफ्नो परिवार र कामकाज छोडेर राजधानीमा छन् । यी तिनै महिला हुन् जो अहोरात्र नखटिएका भए कञ्चनपुर घटना उतिबेलै सेलाउन सक्थ्यो ।


शव भेटिएकै दिन साउन ११ गते कञ्चनपुरका कांग्रेस, पूर्वमाओवादी र पूर्वएमालेका तीन पुरुष प्रतिनिधिको रोहवरमा कागज गराएर प्रहरीले निर्मलाको सद्गत गर्न खोजेको थियो । यिनै महिलाले यसमा कुनै राजनीतिक निर्णय हुन नसक्ने भन्दै पुरुषहरूको सहमतिविरुद्ध आन्दोलन सुरु गरेपछि त्यस दिन शव जलाउन रोकिएको थियो । आन्दोलनको केन्द्रमा थिइन् ३२ वर्षीया लक्ष्मी मल्ल । पुरुषहरूले गरेको कागजमा निर्मलाको हत्या भएको मात्र लेखिएको थियो, उसले उनलाई साह्रै बिझायो ।


‘योनीबाट रगतसमेत बगेकाले बलात्कार पनि लेख्नुपर्ने माग हाम्रो थियो, तर तीनमध्येका एक प्रतिनिधिले डाक्टरको रिपोर्ट नआई लेख्न मिल्दैन भने,’ लक्ष्मी भन्छिन्, ‘त्यसो हो भने हत्याचाहिँ डाक्टरको रिपोर्ट नआई कसरी लेख्न मिल्छ भनेर म कराएँ । निर्मलाले आत्महत्या पनि त गरेको हुन सक्छ नि भनें ।’


कागजमा बलात्कार छुटाउने निर्णयले महिला मात्रै होइन, युवा पनि तातेपछि प्रहरीले निर्मलाको शव उठाउन सकेन । यसरी शव जलाउने निर्णय बिथोलिएकामा प्रहरी निकै क्रुद्ध भयो ।
‘त्यसपछि हामीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार भयो, यति हुँदा पनि मैले भाइहरूलाई आवेशमा नआउन सम्झाइरहेकी थिएँ,’ लक्ष्मी भन्छिन्, ‘यसलाई पठायो भने सबै शान्त हुन्छ भनेर एक प्रहरीले मलाई त्यहाँबाट जबरजस्ती हटाउन खोजे । तर, म साँझ नपरी निस्किनँ ।’
‘भोलिपल्ट त बिहानै नगरपालिकाको फोहोर फाल्ने ट्याक्टरमा शव हालेर लाने तयारी भएको रहेछ, त्यो सुनेपछि म हुर्रिंदै अस्पताल पुगें,’ लक्ष्मी भन्छिन्, ‘त्यहाँ निर्मलाका बुबा यज्ञराज बेहोस अवस्थामा थिए । आमाको पनि बेहाल थियो । त्यसै बेला मामा भन्दै तीर्थराज भण्डारी भन्ने मान्छे आएर शव बुझ्ने तरखर गर्दै रहेछन् । त्यो देख्दा मेरो पारो चढेर आयो । कस्तो खालको मामा तपाईं भनेर तीर्थराजलाई हप्काएँ ।’


लक्ष्मीका अनुसार मामा पछि हट्न मानेनन् । ‘त्यसपछि प्रहरीले माइकिङ गर्दै हामीलाई घर फर्किन आदेश गर्‍यो, नटेरे बल प्रयोग गर्ने चेतावनी पनि दियो,’ उनी भन्छिन्, ‘हिजोजस्तै कुटपिट गर्ला भनेर अरू भागे, मचाहिँ कुटे पनि कुटोस् भनेर बसिरहें ।’


त्यस दिन पनि प्रहरीले शव उठाउन सकेन । १३ गते पनि यसरी नै प्रतिकार गर्न खोज्दा लक्ष्मी प्रहरीको आक्रोशमा परिन् ।


‘यसलाई ठीक नपारेसम्म झमेला भई नै रहन्छ, हाल् यसलाई भित्र भन्दै एक सई मेरो अघिल्तिर आए । उनले मलाई बन्दुकको नालैनालले पुट्ठा र ढाडमा हिर्काए,’ लक्ष्मी भन्छिन्, ‘दुखाइले म भुतुक्कै भएँ तर पनि भाग्न मन लागेन । हान् जति हान्छस् हान्, गोली नै हाने पनि खान तयार छु तर मेरी बहिनीको शव उठाउन दिन्नँ भनेर चिच्याएँ । उनले फेरि हिर्काए ।’
त्यसै बेला केही पत्रकार आइपुगे । ‘त्यसपछि चाहिँ त्यो सईले यसलाई पक्रेर लैजा भनेर महिला प्रहरीलाई अह्राए,’ लक्ष्मीले भनिन्, ‘भित्र बबिता बम हिरासतमा रहिछन्, मलाई पनि त्यहीँ लगेर थुनिदिए ।’


उनका अनुसार हिरासतमा गर्मी कम गर्न एउटा टेबल फ्यान राखिएको थियो । ‘केहीबेरपछि एउटा हवल्दार आएर मुद्दा शाखामा चाहियो भनेर त्यो फ्यान लग्यो, बाहिर खाएको कुटाइ अनि उकुसमुकुस गर्मीले गर्दा म त बेहोस भएछु,’ लक्ष्मी भन्छिन्, ‘पुरुष हिरासतमा थुनिएका केही भाइहरूले यो देखेछन् । अनि तिनले तिमी पनि महिला नै हौ बहिनी, उहाँको अनुहारमा पानी छम्किदेऊ न भनेर बबितालाई आग्रह गरेछन् ।’


‘बबिताले पानी छम्केको एक घण्टाजतिमा मेरो होस खुलेछ,’ उनी भन्छिन्, ‘त्यसपछि म धेरैबेर रोएर बसिरहें ।’


‘राम्रो काम गर्दा यस्तै हो दिदी कहिलेकाहीँ’ भन्दै हिरासतका युवाले उनलाई सम्झाए । रात पर्न सुरु भइसकेको थियो । लक्ष्मीलाई आफ्नो बच्चाको सम्झनाले पोल्न थाल्यो । उनले आफू हिरासतमा पर्ने कारणै नभएको भन्दै कम्तीमा बच्चासँग कुरा गर्न दिनुस् भन्दै मोबाइल नम्बर हवल्दारलाई टिपाइन् । ‘तपाईंलाई बच्चाको मायै छैन, भएको भए आन्दोलनमा आउनुहुन्थ्यो भनेर उल्टै हप्कायो,’ लक्ष्मी भन्छिन्, ‘बबितालाई भने ऊ फुपू तिर्खा लाग्यो कि भनेर सोधिरहन्थ्यो ।’


राति साढे १०:३० मा लक्ष्मीलाई अब हल्ला गर्दिनँ भन्ने वाचाका साथ प्रहरीले निकाले । बन्दुकको नालले जीउमा चोटसमेत लागेकाले उनी सोझै अस्पताल पुगिन् । बाहिर भने मामा भन्ने तीर्थराजले बिहान साढे आठ बजे निर्मलाको शव बुझेर जलाउने भनी कागज गरिसकेका रहेछन् ।


‘मलाई चिच्याएर त्यो अन्यायका विरुद्ध कराउँजस्तो भएको थियो,’ उनले भनिन्, ‘फेरि साथीहरू थप आन्दोलित होलान् र प्रहरीले उनीहरूलाई फेरि बेस्सरी भकुर्ला भनेर चुपै लागिरहें ।’


हातमा ब्यान्डेज गराएर उनी राति अबेर घर फिरिन् । बिहान उठ्न नपाउँदै एक पत्रकारले म्यासेज पठाए, ‘दिदी, निर्मलाको शव त बिहानै घाट लगिसकेछन् ।’ सहमतिविपरीत झिसमिसेमै निर्मलाको सद्गत गर्न लगिएको खबरले उनी झन् आहत भइन् र घाटतिर लागिन् ।


महाकाली नदीको किनारमा बिहान साढे ७ बजे उनी पुग्दा निर्मलाको शरीर दनदनी बलिरहेको थियो ।


‘चिता अगाडि बसेर निर्मलाका बुबा रोइरहनुभएको थियो । आफूलाई मामा दाबी गर्ने तीर्थराजचाहिँ केही भएको छैन जसरी बसिरहेका थिए,’ लक्ष्मी भन्छिन्, ‘त्यसबाहेक त्यहाँ मलामीका रूपमा सयौं प्रहरी मात्रै थिए ।’


‘त्यतिबेला मलाई आफू पराजित भएको र देशमा न्याय मरेको अनुभव भयो,’ उनले भनिन्, ‘यसरी अपराधी नै पत्ता नलगाई भएभरको प्रमाण नष्ट पारिएको घटनाले उनलाई मात्रै पिरोलेको थिएन, सारा दिदीबहिनीलाई रुवाएको थियो ।’ शव जलाए पनि हत्यारा पत्ता लगाउनुपर्ने माग राखेर लक्ष्मीहरू आन्दोलनमा उत्रिए । त्यसक्रममा उनीहरूले धेरैपटक अश्रुग्यास र लाठीचार्जको सामना गरे । एक किशोरको ज्यानै गयो भने २० जना गम्भीर घाइते भए ।


‘तर पनि अपराधीको अझै अत्तोपत्तो छैन,’ लक्ष्मी भन्छिन्, ‘अति भएपछि हामीले कञ्चनपुर छाड्यौं, अब निर्मलालाई न्याय नदिएसम्म घर फर्किन्नौं ।’

गृह पृष्ठ

रूखले जोगायो ज्यान

- मोहन बुढाऐर

(धनगढी)- कहिले सडकको दायाँबायाँ गाडी कुदाउने । कहिले सम्मै बाटामा पनि अचानक ब्रेक लगाउने । बुधबार साँझ दार्चुलाबाट महेन्द्रनगरतर्फ लागेको गाडीचालकको व्यवहार हेरेर यात्रुले पटक–पटक सचेत गराएका थिए तैपनि ना५अ ९११४ नम्बरको बसका चालक पदम पन्तले सुने नसुनेझैं गरी गाडी दौडाए । चालकसहित २४ यात्रु बोकेको बस बिहान ३ बजे दुर्घटनामा पर्‍यो । संयोग, सडकबाट ३० मिटर तल रहेको सल्लाको एक रूखमा गाडी अड्किँदा सबैको ज्यान जोगियो ।


डोटीको जोरायल गाउँपालिकामा पर्ने गुडर–रुवसकाँडा सडक खण्डमा बस दुर्घटनामा परेको हो । ‘भगवान्ले हात थापेजस्तो गरी सबैको ज्यान जोगियो,’ घाइते राजु विकले भने, ‘बस रूखमा नअड्किएको भए ठूलो दुर्घटना हुन्थ्यो । हामी बाँच्न मुस्किल थियो ।’


गाडी खस्दा अधिकांश यात्रु निद्रामा थिए । ‘गाडीमा मीठो हिन्दी गीत बजिरहेको थियो । अधिकांश यात्रु निदाएका थिए । म पनि निदाउनै लागेको थिएँ,’ विकले भने, ‘एक्कासि गाडी ओरोलो झर्‍यो । सबै यात्रुको मुखबाट डरलाग्दो आवाज आयो । मेरो पनि होसै हराएजस्तो भयो ।’


घाइते यात्रुले चालक पन्तको लापरबाहीका कारण दुर्घटना भएको बताए । उनी निदाए वा मदिरा सेवन गरे भन्ने यकिनचाहिँ उनीहरूले गर्न सकेनन् ।

 

‘त्यहाँ दुर्घटना नहुँदै हामीले दुई/तीन पटक राम्रोसँग गाडी चलाउन चालकलाई सम्झाएका थियौं,’ विकले भने ।


उक्त बसमा १ बालक, २ महिलासहित २४ जना यात्रु सवार थिए । उक्त सडक खण्ड बढी दुर्घटना हुने क्षेत्रमा पर्ने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकले देखाउँछ । बस
अड्किएको ठाउँभन्दा करिब २ सय मिटर तल ठाडो भिरालो छ ।


उद्धार टोलीमा खटिएका असई लोकबहादुर पालले अप्ठेरो ठाउँमा बस अड्किएको बताए । ‘बसभित्र अड्किएकालाई सावधानीपूर्वक उद्धार गरियो,’ उनले भने, ‘ज्यान जोगिनुलाई भगवानले हात थापेकै ठान्छु ।’ घटना भएको तीन घण्टाभित्र सबैलाई उद्धार गरी उपचारका लागि धनगढी पठाइएको थियो ।


क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त दुर्घटनामा परी गम्भीर घाइते चालक पदम पन्त, बस मालिक गंगादत्त जोशी, कञ्चनपुर सुडा बस्ने २५ वर्षकी उर्मिला बोहरा र भीमदत्त नगरपालिका १४ का देवलाल जोशीलाई भारत रिफर गरिएको छ । कञ्चनपुर बेतकोट बस्ने जय भण्डारी, हर्क भण्डारी र सुर्खेत घर भएका प्रदीप सुनारलाई नेपालगन्ज रिफर गरिएको छ । अन्य घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

गृह पृष्ठ

चिकित्सकलाई आन्दोलन नगर्न अन्तरिम आदेश

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सर्वोच्च अदालतले अत्यावश्यकीय सेवाअन्तर्गत पर्ने चिकित्सा सेवा ठप्प पार्ने कार्य नगर्न/नगराउन चिकित्सकका नाममा अन्तरिम आदेश जारी गरेको छ । फौजदारी संहितामा राखिएको इलाजसम्बन्धी प्रावधानमा आपत्ति जनाउँदै चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेपछि परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । न्यायाधीश दीपकराज जोशीको इजलासले सरकार र चिकित्सक संघबीच भएको सम्झौतासमेत यथास्थितिमा राख्न आदेश दिएको छ ।

गृह पृष्ठ

सुत्केरीले एक वर्षसम्म बेतलबी बिदा पाउने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सुत्केरी महिलाले एक वर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । संसद्को स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपुग भए चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो ।

 

Page 2
समाचार

कञ्चनपुरका घाइतेलाई पक्षघात

एक अझै अचेत
- फातिमा बानु
शिक्षण अस्पतालमा उपचाररत घाइते उमेश देउवा ।तस्बिर : विद्या राई

 (काठमाडौं) - निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेका उमेश देउवाको अवस्था गम्भीर छ । कञ्चनपुरको भीमदत्त १, भासीका उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


भदौ ८ गते उनी घरमै बसिरहेका थिए । आन्दोलनका कारण स्कुल बिदा थियो । दिउँसो ४ बजे साथीहरू बोलाउन आए । बुबाले बिहानै भनेका थिए( बजारमा आन्दोलन चलिरहेको छ, बाहिर ननिस्किनू तर उनले साथीको कुरा काट्न सकेनन् । आन्दोलन हेर्न निस्किए । त्यसको एक घण्टापछि उनलाई गोली लाग्यो । प्रहरीले उनलाई महाकाली अञ्चल अस्पताल पुर्‍याए ।
बुबा यज्ञराजलाई फोन गरेर बोलाइयो । उनको देब्रे खुट्टामा गोली लागेको छ । देब्रेपट्टिको हातखुट्टै चल्दैनन् । हाड र नसामा गम्भीर चोट छ । खानेपिउने, दिसापिसाब सबै ओछ्यानमै गराइदिनुपर्ने अवस्था छ । ‘म अस्पताल पुग्दा छोराको शरीरभरि रगत थियो, तीनवटा अस्पताल पुर्‍याउँदा पनि उपचार हुन सकेन अनि हेलिकप्टरमा यहाँ ल्याएँ,’ यज्ञराजले भने ।
जिल्लाका डाक्टरले ‘ज्यान त बचाइदिउँला तर खुट्टाको ग्यारेन्टी लिन सक्दिनँ’ भनेपछि छोरालाई काठमाडौं ल्याएको उनले बताए । उमेश भदौ ९ गतेबाट शिक्षण अस्पतालमा छन् । उनी १६ वर्षका भए, आठ कक्षामा पढ्छन् । घाइते भएकाले परीक्षा छुटेकामा उनी चिन्तित छन् । भन्छन्, ‘म त आन्दोलन हेर्न मात्रै गएको थिएँ तैपनि गोली हानिदिए । मेरो छिमेकी निर्मलालाई मार्ने र मलाई गोली हान्ने दुवैलाई कडा कारबाही होस् ।’ यज्ञराज रङ लगाउने काम गर्छन् । दसैंका बेला माग बढी हुन्थ्यो । बिरामी छोरा कुरेर बस्नुपर्दा उनको कमाइ रोकिएको छ । उनी भन्छन्, ‘डाक्टरले छोरा ठीक हुन एक वर्ष पनि लाग्न सक्छ, ठीक नहुन पनि सक्छ भन्छन्, यसको त जिन्दगी नै बर्बाद हुने भयो ।’ उपचार खर्च सरकारले बेहोरे पनि खानबस्न उनीहरूलाई समस्या छ ।


अझै होस आएन
भीमदत्त नगरका अर्जुन भण्डारा भदौ ७ गते खाना खाएर घरमै बसिरहेका थिए । उनलाई पनि साथीहरू आएर आन्दोलनमा जान कर गर्न थाले । घरमा आमा शिवकला मात्रै थिइन् । कसैलाई नसोधी अर्जुन साथीहरूसँग हिँडे । केहीबेरमा दाजु योगेन्द्रलाई आमाको फोन आयो, ‘बाबु, भाइ गोली लागेर अस्पताल ल्याको छ, छिट्टै आइज ।’


आफूले काम गर्ने मोबाइल मर्मत केन्द्रबाट योगेन्द्र तुरुन्तै महाकाली अञ्चल अस्पताल पुगे । उनी पुग्दा आमा बेहोस थिइन् । योगेन्द्रले त्यो दिन सम्झिए, ‘भाइ होसमै थियो, दाहिने खुट्टाबाट रगतका धारा बगिरहेका थिए ।’ आन्दोलनमा प्रहरीले चलाएको गोली लागेको थियो अर्जुनलाई । महाकालीमा उपचार नभएपछि योगेन्द्रले भाइलाई धनगढीको सेती अञ्चल अस्पताल पुर्‍याए । त्यहाँ पनि उपचार सम्भव नभएपछि तत्काल एम्बुलेन्समा हालेर काठमाडौं ल्याइयो । बिहीबार त्रिवि शिक्षण अस्पतालमा भेटिएका योगेन्द्र भन्छन्, ‘मेरो भाइ आन्दोलन हेर्न मात्रै गएको थियो, उसले के बिराएको थियो र गोली चलाएको होला ?’


अर्जुन अहिलेसम्म होसमा आएका छैनन् । उनलाई आईसीयूमा राखिएको छ । २० वर्षीय अर्जुन १२ कक्षा पास गरेर इन्जिनियरिङ पढ्ने तयारीमा थिए । संक्रमण बढेपछि अस्पताल भर्ना भएको ६ दिनमा उनको खुट्टै काटियो, घुँडाभन्दा तल ।


ल्याउनासाथ मनमोहन अस्पताल पुर्‍याइएका उनलाई बुधबार साँझ त्रिवि शिक्षण अस्पताल सारिएको हो । अर्जुनको दिमागमा असर पुगेकाले होस खुल्न नसकेको चिकित्सकले बताएका छन् ।


धेरै दिन भेन्टिलेटरमा राखिएका उनी अहिले आफैं सास फेर्न सक्ने भएका छन् । थोरै आँखा पनि चलाएजस्तो गर्छन् । योगेन्द्र भन्छन्, ‘भाइको ज्यान बचेको छ, त्यसैमा खुसी छौं ।’ उपचार खर्च सरकारले बेहोरे पनि उनीहरूलाई यहाँ खान, बस्न समस्या छ । योगेन्द्र थप्छन्, ‘घरमा कमाउने मै हुँ, बुबा १४ वर्षअघि बितिसक्नुभयो, खर्च जुटाउन गाह्रो छ ।’ साहुबाट ऋण लिएर खर्च चलाइरहेको उनले बताए ।

समाचार

विष्ट सधैं विवादित

- प्रदेश ब्युरो

(धनगढी) - ‘नालायक नेतृत्वले लज्जित बनाएको छ,’ भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरमै पुगेर निर्मला हत्या घटनाका सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए– ‘दोषी नै मानेर एसपीलाई निलम्बन गरिएको हो, यो घटनाले गम्भीर पाठ सिकाएको छ ।’


प्रहरी प्रमुख खनालले भनेझैं निर्मला प्रकरण अनुसन्धानका क्रममा प्रहरीको तत्कालीन जिल्ला नेतृत्वले प्रमाणहरू ढाकछोप गर्न खोजेको पुष्टि हुँदै छ । प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश समय सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा पोस्टिङ भएका एसपी विष्ट जुन–जुन जिल्लामा कार्यरत रहे, त्यहाँ कुनै न कुनै घटनामा विवादमा परिरहे ।


कञ्चनपुर आउनुअघि नै विवादमा
यसअघि असार मध्यतिर भीमदत्त नगरपालिका ११ भुजेलामा मृत अवस्थामा भेटिएका नैनराम सार्कीको घटनाका अनुसन्धानमा पनि विवाद देखिएको थियो । मृतकका आफन्तले एसपी विष्ट र डीएसपी ज्ञानबहादुर सेटीले आर्थिक चलखेल गरेर टिपरले च्यापिएको देखाएको आरोप लगाएका छन् । सार्कीको शव महाकाली नदी किनारको तटबन्धमा टाउको मात्रै थिचिएको अवस्थामा भेटिएको थियो ।


दार्चुलाबाट बसाइँ सरी कञ्चनपुरका स्थायी बासिन्दा भएका एसपी विष्टको कञ्चनपुर पोस्टिङ तेस्रोपटक हो । उनी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएपछि पुसमा काज सरुवा मिलाएर सुर्खेतबाट कञ्चनपुर आएका हुन् । उनी कञ्चनपुर आउनुअघि नै विवाद भएको थियो ।


स्थानीय तहको चुनावअघि पनि उनले काज मिलाएर आउन खोजेका थिए । तत्कालीन एसपी प्रकाश चन्दले कानुनविपरीत सरुवा गरिएको भन्दै मुद्दा हालेपछि उनको काज सरुवा रोकिएको हो । पुसमा चन्दले अवकाश पाएपछि विष्ट यहाँ आएका हुन् ।


यसअघि प्रहरी निरीक्षक हुँदा उनी महाकाली नगरपालिकाको इलाका प्रहरी कार्यालय दोधारा र बेलौरी नगरपालिकाको इलाका प्रहरी कार्यालय बेलौरीमा इन्चार्ज भएर बसिसकेका छन् ।


इप्रका बेलौरीमा उनको दरबन्दी ०६१ वैशाख ३० देखि ०६२ मंसिर २० सम्म रहे पनि उनी यहाँ बसेनन् । ०६२/०६३ जनआन्दोलनमा उनी महेन्द्रनगरमै थिए । त्यतिबेला भने उनले आन्दोलनकारीलाई सघाएको स्थानीय बताउँछन् ।


तर एसपी भएर पहिलोपटक गृह जिल्लामा आएका उनले यस क्षेत्रका बासिन्दासँग समन्वय र सहकार्य गर्न चासो दिएका थिएनन् ।


जोगबुढामा विवादित
बिष्ट जुन–जुन ठाउँमा प्रहरी प्रमुख भएर बसे, ती सबै ठाउँमा महिलाका विषयमा विवादित मात्र भएनन्, राजनीतिक शक्तिका आडमा उनी कारबाहीबाट जोगिए । ‘पटकपटक विवादित भएर जोगिने उनी भाग्यमानी प्रहरी अधिकृत हुन्,’ एकजना बहालवाला प्रहरी निरीक्षक भन्छन्, ‘प्रहरी निरीक्षकमा भर्ना भएयता उनी विवादित भएका दुई दर्जन बढी घटना प्रहरीभित्र बेलाबेला चर्चामा आउने गरेका छन् । उच्च प्रहरी अधिकारीहरूका माझ नरुचाइने उनी शक्तिकै आडमा प्रहरीमा भर्ना भए । शक्तिकै आडमा प्रहरी उपरीक्षकसम्म पुगे ।’ डडेल्धुराको जोगबुढाका एक स्थानीय समाजसेवी भन्छन्, ‘जोगबुढाको कटालमा भएको उनको गाडी दुर्घटनासमेत एक महिलाका चक्करमा भएको थियो ।’ एसपी विष्ट ०५५–०५६ मा इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख थिए । त्यहाँ एकजना जनजाति युवतीसँगको सम्बन्धका कारण उनी विवादमा तानिए । ०५६ को आम निर्वाचनमा राजनीतिक रूपमा समेत उनी विवादित भए ।


लोकतन्त्र आएलगत्तै बैतडीमा प्रहरी प्रमुख डीएसपी भएर काम गर्दा महिला प्रहरीलाई यौन हिंसा गरेको उनीमाथि आरोपसमेत लाग्यो । राजनीतिक शक्तिको आडमा बैतडीमा महिला प्रहरीसँग भएको हिंसाको घटना सार्वजनिक हुन नसके पनि सदरमुकाम गोठालापानीमा उनको खुबै चर्चा भयो । स्थानीय एकजना सञ्चारकर्मीले भने, ‘रेकर्डमा कुनै घटना नआए पनि बैतडी हुँदा प्रहरीभित्रैबाट उनको चर्को विरोध भएपछि उनी तानिएका थिए ।’ बैतडीको पाटनमा रहेका कार्यालय पुन:स्थापनाको आन्दोलनका कारण उनी सरुवा भएको बताइए पनि भित्री कारण महिला प्रहरीलाई यौन हिंसा भएको ती सञ्चारकर्मीले बताए । प्रहरी निरीक्षकमा भर्ना हुँदा नेपाली कांग्रेसका नेताहरूको आशीर्वाद प्राप्त उनी पछिल्लो समय नेकपा नेताहरूको नजिकमा रहेर काम गरिरहेका थिए । प्रहरीमा भर्ना भएपछि अधिकांश समय सुदूरका जिल्लाहरूमा जिम्मेवारी सम्हालेका विष्टलाई कञ्चनपुर पठाउँदा नेकपाका सुदूरका एक शक्तिशाली नेताको दबाबका कारण हेडक्वार्टर बाध्य भएको प्रहरी स्रोतले बतायो ।


डोटीमा पनि चारित्रिक प्रश्न
०७२ सालमा प्रहरी नायब उपरीक्षकबाट बढुवा हुनेबित्तिकै डोटीमा प्रमुखका रूपमा आएका उनी विवादमा आइरहे । एसपी विष्टले म्यादी प्रहरीमा भर्ना हुन बड्डीकेदारबाट आएकी एक महिलालाई परीक्षामा आउने प्रश्न र उत्तरहरू फोनबाट लिक गरेका थिए । ३८ मिनेटसम्म राति फोन गरी प्रश्न लिक गरेको सञ्चारकर्मीहरूले थाहा पाएपछि उनले महिलालाई ज्यान मार्ने धम्की दिएका थिए ।


०६३ सालमा जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रमुखका रूपमा कार्यरत रहँदा पनि विष्टविरुद्ध क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा यौन दुव्र्यवहारको मुद्दा परेको थियो ।


महिला प्रहरीमाथि दुव्र्यवहार
निलम्बित एसपी विष्ट दुई वर्ष दार्चुलामा डीएसपीका रूपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ । विष्ट ०६४ पुस ३० देखि ०६६ मंसिर २८ गतेसम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएका थिए ।


उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भएपछि जिल्ला बाहिर तानिएको स्थानीय बताउँछन् । विष्ट जिल्लामा प्रहरी प्रमुख भएका बेला दुहु गाउँपालिका ३ को ब्रहमदेव प्रहरी चौकीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको थियो । ‘महिलाको मामिलामा उनमा कमजोरी थियो,’ एक जना स्थानीयले भने, ‘यहाँ बस्दा उनको व्यवहार र कामकारबाही निष्पक्ष नै थियो, स्थानीय भएकाले पनि हुन सक्छ ।’

Page 3
समाचार

प्रदेश र स्थानीय सरकारको माग: उच्चस्तरीय संयन्त्र

- राजेश मिश्र

 (काठमाडौं) - प्रदेश र स्थानीय तहले संघीयता कार्यान्वयन तथा तीन तहका सरकारबीचको समन्वयका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय राजनीतिक संयन्त्र माग गरेका छन् ।
भदौ २१ गते पोखरामा सम्पन्न मुख्यमन्त्री भेला र भदौ १४ गते काठमाडौंमा सम्पन्न नगरपालिका प्रमुख तथा उपप्रमुखहरूको भेलामा यस्तो माग गरिएको हो । दुवै भेलाका घोषणापत्रमा प्रधानमन्त्री नेतृत्वको संयन्त्रको माग प्राथमिकतासाथ उठाइएको छ । संविधानले प्रदेश र संघ तथा प्रदेशबीच उत्पन्न हुने राजनीतिक विवाद समाधानका लागि प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषद् व्यवस्था गरेको छ ।


त्यस्तै, स्थानीय सरकार सञ्चालन ऐनले प्रदेश तथा स्थानीय तहबीच समन्वयका लागि मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश समन्वय परिषदको व्यवस्था गरेको छ । संघ र प्रदेशस्तरका दुवै परिषद् प्रभावकारी परिचालनमा नआउँदै नयाँ संरचनाको माग उठेको छ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयता राजनीतिक ‘भिजन’ भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक संयन्त्रको आवश्यकता महसुस गरिएको बताए । ‘संविधानमा अन्तरप्रदेश परिषदको परिकल्पना विवाद समाधानका लागि गरिएको छ । संघ र प्रदेशहरूबीच सहकार्य र समन्वयका लागि संरचना आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा संयन्त्र गठन गरिनु राम्रो हुने हाम्रो ठम्याइ छ ।


त्यसको संरचनाबारे थप छलफल गर्न सकिन्छ ।’ उनले संघीयता नयाँ विषय भएकाले त्यसप्रति विश्वास बढाउन र त्यसलाई जनताबीच स्थापित गराउन पनि राजनीतिक संयन्त्र आवश्यक देखिएको बताए । संविधानले अन्तरपरिषद्बाहेक संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि संघीय संसद्ले आवश्यक कानुन बनाउन सक्ने प्रावधान समेटेको छ । संविधानको धारा २३५ लाई टेकेर कानुनअनुसार नै संरचना बनाउन सकिने मुख्यमन्त्रीहरूको भनाइ छ । राजनीतिक संयन्त्रका निर्णय कार्यान्वयनका लागि उच्चस्तरीय प्रशासनिक संरचना पनि बनाइनुपर्ने पोखरा भेलाको सुझाव छ ।


नगरपालिका संघका महासचिव भीमप्रसाद ढुंगानाले तीन तहका सरकारबीच समन्वय जरुरी भइसकेको बताए । ‘संघ र प्रदेश तथा प्रदेश र स्थानीय तहबीच अलगअलग समन्वय भएर मात्रै पुग्दैन । संघले आफ्नो किसिमको निर्णय गर्ने, प्रदेशले त्यसलाई नमान्ने, प्रदेशको निर्णय स्थानीय तहले नमान्नेजस्ता अवस्था निम्तिन दिनुहुन्न,’ उनले भने, ‘तीन तहबीच सहकार्यका लागि समस्यालाई एकै ठाउँमा राखेर छलफल गर्न संयन्त्र आवश्यक छ ।’


उच्चस्तरीय राजनीतिक संयन्त्रको मागबाहेक दुई तहका केही समान खालका समस्यालाई लिएर संघप्रति उस्तै गुनासो देखिएको छ । कर्मचारी समायोजन तथा विषयगत कार्यालयहरूको हस्तान्तरणमा गरिएको ढिलाइप्रति दुवै तहले संघ सरकारप्रति रोष प्रकट गरेका छन् । अलगअलग घोषणापत्रमा आवश्यक कानुन निर्माण गर्न संघले यथाशीघ्र पहल
गर्नुपर्ने माग छ ।

समाचार

विदेशमा उपचार गराए राज्यले खर्च नदिने

२०६२/६३ पछि मात्रै विशिष्ट र पहुँचवाला व्यक्तिको औषधोपचारमा करिब ५ अर्ब रुपैयाँ खर्च
- मकर श्रेष्ठ

(काठमाडौं)- अब पूर्व र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीसहितका विशिष्ट व्यक्तिले विदेश गएर उपचार गराए सरकारले खर्च नबेहोर्ने भएको छ । यसअघि विशिष्ट व्यक्तिले विदेशमा उपचार गरेको खर्च पनि राज्यले बेहोर्दै आएको थियो ।


संसद्को स्वास्थ्य शिक्षा समितिले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि तयार परिमार्जित प्रतिवेदनमा विदेशमा उपचार गराएको खर्च राज्यले उपलब्ध नगराउने प्रावधान थप गरेको हो । समितिले सर्वसम्मतिबाट अनुमोदन गरेको प्रतिवेदन बिहीबार संसद्मा पेस भएको छ । संसद्ले असोज २ भित्र विधेयक पारित गरेपछि विदेशमा उपचार गर्नेको खर्च राज्यले बेहोर्न कानुनी रूपमा मिल्दैन ।


सरकारले पेस गरेको विधेयकमाथि परेका १ सय ९९ वटा संशोधनको छलफल गर्न खगराज अधिकारीको संयोजकत्वमा उपसमिति बनाइएको थियो । उपसमितिले विशिष्ट व्यक्तिलाई राज्यको खर्चमा विदेशमा उपचार गर्न रोक लगाउने व्यवस्था राखेको प्रतिवेदनलाई समितिले सर्वसम्मतले पारित गरेको हो । समितिले संसद्मा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा त्यसका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइनेछैन ।’ यो व्यवस्था सरकारले ल्याएको विधेयकमा समावेश थिएन । उपसमिति संयोजक अधिकारीले सरकारले ल्याएको विधेयकमा विदेशमा उपचार गर्न जानेको खर्च राज्यले बेहोर्न नहुने संशोधन हालेका थिए । यही संशोधनलाई विधेयकमा समेटिएको हो ।


गणतन्त्रमा सबै नागरिक समान भएकाले कसैले स्वदेशमा उपचार नपाउने र केहीको स्वदेशमै उपचार सम्भव हुँदाहुँदै विदेशमा उपचार गर्दा लाग्ने खर्च राज्यले बेहार्नु गलत भएकाले यस्तो व्यवस्था राखिएको जानकारी उपसमितिका संयोजक अधिकारीले दिए । ‘गरिब, निमुखा, जनआन्दोलनका घाइतेको उपचार खर्च राज्यले दिन सकेको छैन । गाउँगाउँमा नि:शुल्क औषधि पुर्‍याउन सकिएको छैन । बेलैमा उपचार नपाएर आमा र बच्चा दुवै गुमाउने अवस्था छ,’ अधिकारीले भने, ‘मुलुकमै गुणस्तरीय उपचार सम्भव हुँदाहुँदै विदेश गएर उपचार गराउँछ भने राज्यले किन खर्च बेहोर्ने ?’ यो व्यवस्थाले स्वदेशमै उपचार गराउँदा नेपालको स्वास्थ्य प्रणालीको विश्वास बढ्ने उनले बताए ।


जनआन्दोलन २०६२/६३ सफल भएपछिका १२ वर्षको अवधिमा सरकारले विशिष्ट व्यक्ति र पहुँचवाला व्यक्तिको औषधोपचारका नाममा करिब ५ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यसमा विदेशमा उपचार गर्ने विशिष्ट व्यक्तिको खर्चको अंश आधाभन्दा बढी रहेको सरकारी अधिकारी बताउँछन् । मुलुकमै उपचार सम्भव भएका रोगको उपचार गर्नसमेत विशिष्ट व्यक्तिहरू विदेश जाने र त्यसको खर्च राज्यले बेहोर्ने गरेको छ । विशिष्ट व्यक्तिको उपचारसम्बन्धी निर्देशिकामै स्वदेश या विदेशमा उपचार गर्दा राज्यले बेहोर्ने व्यवस्था छ ।
चिकित्सकलाई अन्यत्र काम गर्न प्रतिबन्ध विधेयकले सरकारी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई तोकिएको समयमा अन्यत्र काम गर्न प्रतिबन्ध लगाएको छ । त्यस्तै सम्बन्धित कार्यालयले तोकेको समयभन्दा फरक समयमा काम गर्न पनि पूर्वस्वीकृति लिनुपर्ने हुन्छ । औषधि बिक्रेताले चिकित्सकको सिफारिसबिना कुनै पनि औषधि बिक्री गर्नसमेत यो विधेयकले रोक लगाएको छ । त्यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधि सिफारिस गर्दा जेनेरिक नाम लेख्नुपर्ने व्यवस्था गरेको छ । यो ऐन संसद्बाट पारित भएपछि अहिलेको जस्तो चिकित्सकले औषधिको निश्चित ब्रान्ड वा कुनै कम्पनीको औषधिको नाम लेख्न पाइँदैन तर स्वदेशी उत्पादनका हकमा भने दुई वर्षसम्म यो कानुन लागू नहुने प्रावधान समितिले थप गरेको छ ।


आमाका नाममा प्रमाणपत्र
स्वास्थ्यसंस्थाले आमा वा बुबाको मात्रै नाम राखेर शिशु जन्मेको प्रमाणपत्र दिनुपर्ने हुुन्छ । सरकारले पेस गरेको विधेयकमा बाबुको पहिचान हुन नसकेको वा बाबुको नाम उल्लेख गर्न नचाहेको हकमा बेहोरा खुलाउनुपर्ने प्रावधान थियो । समितिले यो प्रावधान हटाएर आमाका नाममा मात्रै पनि प्रमाणपत्र दिन सकिने व्यवस्था गरेको छ ।

 

विधेयक छोटो प्रक्रियाबाट
काठमाडौं (कास)– संघीय संसद््ले नियमावली निलम्बन गरेर छोटो प्रक्रियाबाट विधेयक पारित गर्ने भएको छ । असोज २ भित्र मौलिक हक कार्यान्वयन गर्ने ऐन जारी गरिसक्नुपर्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो ।


संविधान जारी भएको तीन वर्षभित्र मौलिक हक कार्यान्वयन गर्ने कानुन बनाइसक्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने प्रक्रिया पूरा गर्न नियम निलम्बन गरिएको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकले वातावरण संरक्षणसम्बन्धी पहिलो संशोधन विधेयक र अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी पहिलो संशोधन विधेयक प्रक्रिया अघि बढाएको छ । नियमावलीको नियम १११ मा रहेको विधेयकमाथि संशोधनको सूचना दिने ७२ घण्टाको समयसीमा घटाई १२ घण्टा कायम गरिएको छ । सांसद खगराज अधिकारीले नियम निलम्बन गर्न गरेको प्रस्तावलाई सांसद लक्ष्मणलाल कर्णले समर्थन गरे । संसदीय समितिहरूले सातवटा विधेयकको दफावार छलफल गरेर बिहीबारको प्रतिनिधिसभा बैठकमा पेस गरेका छन् । मौलिक हक कार्यान्वयन गर्न बनाइएको विधेयकको प्रतिवेदन सम्बन्धित समितिले पेस गरेका हुन् ।


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ता संरक्षण विधेयक, रोजगारीको हकसम्बन्धी विधेयक, विकास तथा प्रविधि समितिले आवास अधिकारसम्बन्धी विधेयकको प्रतिवेदन पेस गरेका छन् । त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक र जनस्वास्थ्य विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसद्मा पेस गरेको छ । त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा समितिले खाद्य अधिकारसम्बन्धी विधेयक र भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक प्रतिवेदन बैठकमा पेस गरेको छ । शुक्रबारको बैठकमा यी सातै विधेयक पारित गर्ने कार्यसूची छ ।

समाचार

कृषि विश्वविद्यालयले सिनेट सदस्य हटाउने

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कृषि वनविज्ञान विश्वविद्यालय रामपुरले निजी सम्बन्धनका विपक्षमा रहेका निर्देशकहरूलाई प्राज्ञिक परिषद् र सिनेट सदस्यबाट हटाउने भएको छ । विश्वविद्यालय कार्यकारी परिषद्ले शुक्रबार प्रधानमन्त्री तथा कुलपतिको अध्यक्षतामा बस्ने सिनेट सभामा उक्त प्रस्ताव लैजाने तयारी गरेको छ । यसअघि विश्वविद्यालय कार्यकारी परिषद्ले आठवटा निजी कलेजलाई सम्बन्धन दिएको थियो । २७ दिन आन्दोलन भएपछि मन्त्रिपरिषदले सबै सम्बन्धन खारेज गरेको थियो । सम्बन्धनविरुद्ध रहेका निर्देशकलाई हटाउन प्रस्ताव अघि बढाइएको छ ।

समाचार

३४ उपसचिव प्रदेशमा

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– वन तथा वातावरण मन्त्रालयले बिहीबार प्रदेशस्तरीय निकायमा कामकाजका लागि भूसंरक्षण अधिकृत (उपसचिव) हरूलाई खटाएको छ । कर्मचारी समायोजन ऐन २०७४ र संघीय सरकारको मन्त्रिपरिषदको साउन २५ को निर्णयअनुसार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमातहत रहने गरी उनीहरूलाई खटाइएको हो । ३४ जनामध्ये केहीलाई केन्द्रकै मन्त्रालय र विभागमा जिम्मेवारी दिइएको छ ।

समाचार

औषधिमा परनिर्भरता बढ््ने चेतावनी

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल औषधि उत्पादक संघले संसद्मा विचाराधीन जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका केही प्रावधानले औषधिमा परनिर्भरता बढ्ने बताएको छ । विधेयक यथास्थितिमा कार्यान्वयनमा आए एक वर्षभित्र औषधिमा परनिर्भरता दोब्बर हुने संघको चेतावनी छ । ‘गुणस्तरीय औषधि उत्पादनमा आत्मनिर्भर बन्नुको सट्टा सरकार परनिर्भरता बढाउन उद्यत देखिएको छ,’ संघका अध्यक्ष दीपक दाहालले भने । सरकारले गुणस्तरसँग सम्झौता गर्न नहुने दाहालको भनाइ छ । ‘कसैले जानी–जानी गुणस्तर बिगार्छ भने उद्योग सञ्चालनको अनुमति नै रद्द गर्नुपर्छ,’ उनले भने ।

 

Page 4
वाग्मती प्रदेश

लोकल कुखुरा जोगाउन २० लाख

लोकल कुखुराको माग व्यापक छ तर लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि बजेट विनियोजन गरेका हौंं
- प्रताप विष्ट
मकवानपुरको मनहरी गाउँपालिकाको कार्यालय ।तस्बिर : प्रताप

 (हेटौंडा)- मकवानपुरको मनहरी गाउँपालिकाले लोपोन्मुख स्थानीय जात (लोकल) का कुखुराको संरक्षण र प्रवद्र्धन गर्न बजेट विनियोजन गरेको छ । हाँडीखोला र मनहरी गाउँपालिका समेटेर बनेको मनहरी गाउँपालिकाले चालू आवको निम्ति २० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।


‘गाउँमा लोकल कुखुरा लोप हुन लागेको त्यसको संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले चालू आवमा बजेट छुट्टयाइएको छ,’ गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने, ‘लोकल कुखुराको माग व्यापक छ तर लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि बजेट विनियोजन गरेका हौं ।’


गाउँपालिकाले साविकको हाँडीखोला गाविस र मनहरी गाविसका एक/एकवटा युवा स्वरोजगार समूह गठन गरेर स्थानीय जातको कुखुरापालन गर्न रकम उपलब्ध गराउने नीति बनाएको छ । उक्त समूहलाई गाउँपालिकाले उपलब्ध गराउने रकममध्ये केही रकम अनुदानमा दिने अरू रकम किस्ता बन्दी निब्र्याजी ऋण स्वरूप उपलब्ध गराउने कार्यविधि बनाएको छ । ‘पहिलो वर्ष २ स्थानमा व्यावसायिक ढंगले स्थानीय जातका कुखुरा पालन गर्न अनुदानसहित ऋण उपलब्ध गराउने र दोस्रो वर्षदेखि यो संख्या र बजेट अझ बढाउने छांै,’ गापाकी उपाध्यक्ष मनिला विष्टले बताइन् । मकवानपुरमा स्थानीय जातका तीन किसिमका कुखुरा पाइन्छन् । ‘तीनै थरी कुखुरा लोपोन्मुख अवस्थामा छन्,’ जिल्ला पशुसेवा कार्यालय हेटौंडाका प्रमुख डा.रामप्रकाश प्रधानले भने, ‘मकवानपुरमा स्थानीय जातका कुखुराको संरक्षणलाई प्राथमिकताको सूचीमा राखिएन भने आउँदो पुस्ताले देख्नसमेत पनि पाउँदैनन् ।’

‘जिल्लामा साखिनी, घाँटी खुइले र प्वाँख उल्टे गरी तीन प्रजाति स्थानीय कुखुरा पाइन्छन् । अहिलेसम्म कतैकतै दुर्गम गाउँ र बस्तीमा उक्त प्रजाति कुखुरा पाइन्छन्,’ डा. प्रधानले भने, ‘तिनीहरूको संरक्षण गर्न सकिएन भन केही वर्षभित्रमा नै लोप हुन्छन् ।’ यी जातका कुखुरा र यसका अन्डा पोसिलो मानिन्छ । अहिले बजारमा स्थानीय जातका कुखुरा र त्यसका अन्डाको माग व्यापक छ तर पाउन सकेका छैनन् । स्थानीय जातका कुखुरा पालन गर्न हाँडीखोला र मनहरी गाउँपालिकाका युवाहरू मिलेर युवा स्वरोजगार समूह गठन गरिसकेका छन् । मनहरी गाउँपालिकाले स्थानीय जातका कुखुरापालनका लागि मात्र होइन, अर्गानिक खेती गर्नका लागि २५ लाख रुपैयाँ चालू आवमा बजेट विनियोजन गरेको छ । मनहरी गाउँपालिकामा पर्ने हाँडीखोला व्यावसायिक तरकारी उत्पादनका लागि ख्याति कमाउँदै आएको छ । उक्त तरकारी खेतीमा विषादी र रासायनिक मल प्रयोग गर्ने गरिएको छ । गाउँपालिकाले विषादीरहित अर्थात् अर्गानिक तरकारी उत्पादन गर्न कृषकलाई प्रोत्साहित गर्न गापाले बजेटको व्यवस्था गरेको गापा अध्यक्ष उप्रेतीे भने, ‘मनहरीमा २५ बिगाहा र हाँडीखोलामा २५ बिगाहा गरेर ५० बिगाहा जमिनमा सामूहिक रूपमा अर्गानिक खेती गर्न बजेट विनियोजन गरेको हो ।’


मानव स्वास्थ्यमा विषादी प्रयोग गरेको तरकारीले विभिन्न किसिमका रोग उत्पादन गरेकाले अर्गानिक खेतीतर्फ कृषकलाई प्रोत्साहित गर्न अनुदानसहित बजेटको व्यवस्था गरेको गापाले जनाएको छ । अर्गानिक खेती गर्न अर्गानिक मल र बीउमा गापाले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । सामूहिक रूपमा २५/२५ बिगाहामा २ स्थानमा अर्गानिक खेती गर्न कृषकहरूले गाउँपालिकामा प्रस्ताव पेस गरिसकेका छन् । गाउँपालिकाले क्रमश: विषादीरहित अर्गानिक खेतीमा जोड दिने जनाएको छ ।

वाग्मती प्रदेश

वर्षामा चल्दैन दोरम्बामा गाडी

- टीकाप्रसाद भट्ट
दोरम्बाबाट बुधबार अग्लेश्वरीतर्फ आउँदै गरेको यात्रुवाहक बस चिप्लिएपछि ठेलेर सडकमा पुर्‍याइँदै । तस्बिर : टीकाप्रसाद 

 (रामेछाप)- दोरम्बाबाट फर्किएको बस बुधबार चिप्लिएर धन्न सडकबाट खसेन । हिलाम्मे सडकमा दोरम्बाबाट अग्लेश्वरतिर उक्लिएको यात्रुबाहक बस बल्लतल्ल जोगिएपछि यात्रुले ठेलेर सडकको बीचमा पुर्‍याए । त्यसपछि बस गुडेन । यात्रुहरू झोला बोकेर रुझदै गन्तव्यतिर लागे ।
गाल्वादेखि दोरम्बासम्मको सडकमा बुधबार मात्र हैन, चालकहरूअघि पछि पनि हत्केलामा ज्यान राखेर यातायात साधन गुडाउने गर्छन् । कतिपय चालकले नमान्दा नमान्दै पनि यात्रुहरूले जबरजस्ती गर्दा यातायातका साधनहरू दोरम्बा उकालिने गरेका र बीचमै अलपत्र पर्ने गरेका छन् । गाल्वाबाट उत्तर अग्लेश्वरीको भीरसम्मको सडक जोखिम छ । केही गरी अग्लेश्वरी पार गरे पनि त्यसभन्दा तल दोरम्बातिर हिलो र खाडल छिचोल्न कठिन छ । सवारी चालक अमरबहादुर मोक्तानले भने, ‘बाटो ठीकै होला भनेर गयो, बीचमै अलपत्र पर्नुपर्छ, दोरम्बा पुगिहाले फर्कन सक्ने नसक्ने चिन्ताले निद्रा लाग्दैन, पानी परेको दिन गाडी जहाँको त्यही राख्नुपर्ने बाध्यता छ ।’
गाल्वा–दोरम्बा सडक गएको वर्ष वडा कार्यालयको पहलमा सडक सुधार गरिएको थियो । धेरै पानी पर्ने भएकाले धुलो माटो मिलाइएको उक्त सडक अहिले अस्तव्यस्त छ । बाह्रै महिना सवारी सञ्चालन गर्ने दोरम्बेलीको धोको स्थानीय सरकार हुँदा पनि पूरा भएको छैन । दस वर्षअघि दोरम्बामा सडक पुगेको हो । यत्तिका वर्ष हुँदा दोरम्बेलीले वर्षायाममा कहिल्यै यातायातको सेवा पाएनन् । स्थानीय मानबहादुर लामा भन्छन्, ‘अब त पाइएला भन्यो फेरि उस्तै ।’ गाल्वादेखि दोरम्बा हँुदै गाउँपालिकाको मुख्यालय टोकरपुरसम्म यातायातका साधन गुडने गरी चौडा बाटो बनाउने अभियानमा गाउँपालिका लागेको छ । ‘हिउँद याममा दोरम्बा गाउँपालिकाले धेरै सडक चौडा पार्‍यो, सुधार गर्‍यो,’ गाउँपालिका अध्यक्ष कमानसिं मोक्तान भन्छन्, ‘वर्षा लागेपछि धेरै सास्ती बेहोर्नुपरेको छ ।’ दसैंअघि नै सडक सुधार गरेर सञ्चालनमा ल्याउने अठोट गरेको उनले सुनाए ।


टोकरपुरमा रहेको गाउँपालिका मुख्यालय जानका लागि वैकल्पिक सडक प्रयोग हुने गरेको छ । दिमी पोखरीको आलमपुर हुँदै हाल टोकरपुरसम्म मुस्किलले सवारीसाधन चल्दै आएका छन् । ‘यो वर्ष अलि धेरै पानी परेर पनि यातायात सञ्चालनमा बढी कठिनाइ भयो,’ दिमीका मेघबहादुर थापाले भने, ‘सडक धेरै खुलेका छन्, यातायात सञ्चालन हुने खालका भने थोरै भए ।’ यातायात सहज नहुँदा दोरम्बा गाउँपालिकामा उत्पादन हुने आलु बजारसम्म लैजान किसानले सकेका छैनन् ।


दोरम्बा गाउँपालिकामा अब सडक खोल्नुपर्ने स्थान छैन । अध्यक्ष मोक्तान भन्छन्, ‘जति सडक खुलेका छन्, अबको बजेट त्यसैको सुधारका लागि खर्च गर्ने योजना छ, सुधारका नाममा माटो खन्ने र पुर्नेभन्दा पनि अब बाह्रै महिना यातायात गुड्ने गरी सडक बनाउँछांै ।’

वाग्मती प्रदेश

जनगणना तयारीमा छलफल

- नगेन्द्र अधिकारी
राष्ट्रिय जनगणना २०७८ को तयारीका लागि हेटौंडामा आयोजित अन्तरक्रिया । तस्बिर : कान्तिपुर

 (हेटौंडा)- केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तयारीका लागि राय सुझाव संकलन, पैरवी र प्रचार गर्न हेटौंडामा प्रदेशस्तरीय अन्तरक्रिया गरेको छ । प्रदेशस्थित सरोकारवाला, स्थानीय तहका प्रतिनिधि, जिल्लास्थित सरकारी निकायका प्रमुख र सरोकारवालाको सहभागितामा भएको कार्यक्रमका सहभागीले संघीय शासन व्यवस्थाअनुरूपको तथ्यांक संकलन हुनुपर्ने बताएका छन् । स्थायी घर नम्बर राखी सबै विवरणलाई सूचनामैत्री बनाउनुपर्ने, विदेशमा बस्ने व्यक्तिको पनि गणना गर्नुपर्ने र वडा तहसम्म समन्वय समिति जस्ता संरचना बनाउनुपर्ने सुझाव दिएका थिए ।


प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले संघीय संरचनाअनुसार तीनवटै तहले अपनत्व गर्ने गरी तथ्यांक संकलन हुनुपर्ने तर्क गरे । उनले स्थानीय तह, प्रदेश र संघलाई आवश्यक तथ्यांक संकलन हुनुपर्ने भन्दै संयुक्त कार्यक्रम बनाएर लैजानुपर्ने बताए । जनगणना मात्रै भन्दा पनि तथ्यांक संकलन महाअभियानको रूपमा लैजानुपर्ने भन्दै उनले संकलित तथ्यांकको नतिजा आउन ढिला गर्न नहुने तर्क गरे । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष खिमलाल देवकोटाले सहकार्य गर्न तयार रहेको बताए । प्रमुख सचिव आनन्दराज ढकालले तथ्यांक संकलन सूचना प्रविधिमा आधारित हुनुपर्ने बताए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानीय तहलाई पनि अपनत्व ग्रहण गराउने संयन्त्र आवश्यक रहेको तर्क गरे । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले स्थानीय तहको समन्वय र सहकार्यमा जनगणना सञ्चालन गर्न जोड दिए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले रोजगारीको अवस्था पनि तथ्यांकमा आउनुपर्ने बताए । विभागका उपमहानिर्देशक नेविनलाल श्रेष्ठले केन्द्रीकृत तरिकाबाट नभई संघीय व्यवस्थाअनुसार नै गर्न सबै प्रदेशमा सुझाव संकलन गरिएको भन्दै प्राप्त सुझाव कार्यान्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।


अन्तरक्रियामा विभागको जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनाको ऐतिहासिक पृष्ठभूमि, संवैधानिक महत्त्व, संघीय संरचनामा जनगणना सञ्चालनमा आइपर्ने समस्याका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

वाग्मती प्रदेश

बसबाट खसेर मृत्यु

छोटकरी
- कान्तिपुर संवाददाता

हेटांैडा (कास)– यात्रुवाहक बसको ढोकाबाट खसेर एक वृद्धको बिहीबार मृत्यु भएको छ । ठिंगनबाट हेटांैडातर्फ आइरहेको ना ३ ख २९८४५ नम्बरको बसको ढोकाबाट खसेर मकवानपुर गढी गाउँपालिका २ का ६० वर्षीय प्रेमबहादुर भुजेलको मृत्यु भएको हो । ढोकाबाट खसेर घाइते भएका भुजेलको चुरेहिल अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।

वाग्मती प्रदेश

विद्यार्थीलाई सहयोग

छोटकरी
- कान्तिपुर संवाददाता

दोलखा (कास)– बहिरा स्कुलका विद्यार्थीलाई स्वास्थ्य परीक्षण र सामग्री हस्तान्तरण गर्दै चरिकोट अस्पतालका प्रमुख विशेषज्ञ डाक्टर विनोद दंगालले आफ्नो जन्मदिन मनाए । जन्मदिनको वाहनामा फजुल खर्च गर्ने चलन बढ्दै गएका बेला उनले ५० बहिरा विद्यार्थीलाई स्वास्थ्य जाँच गर्दै औषधि वितरण गरेका हुन् । बिहीबार बिहानै उनी भीमेश्वर बहिरा स्कुलका विद्यार्थीबीच पुगेका थिए । उनले किशोरी विद्यार्थीका लागि भित्री वस्त्र र सुरक्षाका सामग्री भण्डार गर्न टयांका पनि दिएका छन् । गत वर्ष पनि उनले उक्त सामुदायिक विद्यालयमा जन्मदिनका दिन सहयोग गरेका थिए ।

वाग्मती प्रदेश

सम्झनामा दीप प्रज्ज्वलन

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रिय बाल दिवसको पूर्वसन्ध्यामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बालकल्याण समिति, बाल अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले बिहीबार साँझ सिनामंगलस्थित ‘बाल स्मृति स्तम्भ’ परिसरमा दीप प्रज्ज्वलन गरेका छन् । भूकम्प, बाढीपहिरो, डुबान तथा अन्य विपत्मा परी ज्यान गुमाएका बालबालिकाको सम्झनामा दीप प्रज्ज्वलन गरिएको हो ।

वाग्मती प्रदेश

कार्यविधि आउँदै

छोटकरी
- कान्तिपुर संवाददाता

हेटौंडा– प्रदेश सार्वजनिक खरिद ऐन र नियमावलीको अभावमा बजेट खर्च गर्न समस्या भएपछि सरकारले कार्यविधि ल्याउने तयारी गरेको छ । बिहीबार बसेको प्रदेश ३ को मन्त्रिपरिषद् बैठकले प्रदेश सार्वजनिक खरिद सम्बन्धमा अन्तरिम कानुनी व्यवस्था गर्न बनेको कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गरेको छ । प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा कानुन मन्त्री कैलाशप्रसाद ढुंगेलका अनुसार कार्यविधि स्वीकृत भएपछि विनियोजित रकम खर्च गर्न, खरिद प्रक्रिया रोकिँदैन ।


कार्यविधिमा बजेट निर्णय गर्ने अधिकार, भेरिएसन लगायतका व्यवस्था समावेश गरिएका छन् ।

Page 5
उपत्यका

चक्रपथमा ३ वर्षभित्र मोनोरेल

- कान्तिपुर संवाददाता
काठमाडौं र ललितपुर महानगरका मेयर विद्यासुन्दर शाक्य र चिरीबाबु महर्जनलाई चक्रपथमा मनोरेल निर्माणबारेको अध्ययन प्रतिवेदन बुझाउँदै चिनियाँ कम्पनी सीआरसीसीका प्रतिनिधि । तस्बिर : कान्तिपुर

काठमाडौं (कास)– चक्रपथमा मोनोरेल निर्माण गर्न एक खर्ब १६ अर्ब खर्च लाग्ने भएको छ । निर्माणसम्बन्धी चिनियाँ कम्पनी २५ औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) ले महानगरलाई बुझाएको प्रारम्भिक अध्ययन प्रतिवेदनमा मोनोरेल निर्माणका लागि उक्त रकम आवश्यक हुने उल्लेख छ ।


बिहीबार सीआरसीसीले काठमाडौं र ललितपुर महानगरपालिकाका मेयरलाई उक्त प्रतिवेदन औपचारिक रूपमा बुझाएको हो । दुवै महानगरसँग गत जेठ ११ मा ६ महिनाभित्र सम्भाव्यता अध्ययन गरी प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने सहमति भएको थियो । सम्झौता गरेको चार महिना पनि नबित्दै प्रतिवेदन बुझाइएको हो । प्रतिवेदनमा मोनोरेलका लागि प्राविधिक, भौगोलिक, आर्थिक, वातावरणीय सम्भाव्यताबारे अध्ययन गरेको सीआरसीसीले जनाएको छ ।
भौगोलिक र प्राविधिक हिसाबले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । कम्पनीका इन्टरनेसनल म्यानेजर झावो सिवावोले दुवै महानगरले निर्माणका लागि सहमति दिए आफूहरू डीपीआरका लागि तयार रहेको बताएका छन् । कम्पनीले पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्म, दोस्रो चरणमा कलंकीदेखि चक्रपथसम्म र तेस्रो चरणमा चक्रपथदेखि कोटेश्वरसम्म निर्माण गर्न सकिने बताएको छ ।


कम्पनीले डीपीआर सुरु गरेको ६ महिनाभित्र प्रतिवेदन बुझाउने र काम सुरु गरेको ३ वर्षभित्रमा सम्पन्न गर्ने जनाएको छ । कम्पनीले २७ दशमलव ५ किलोमिटर लामो चक्रपथमा करिब २१ स्थानमा स्टेसन बनाउने पनि उल्लेख गरेको छ ।


प्रतिवेदन बुझिलिएपछि दुवै महानगरका मेयरले सकारात्मक प्रतिक्रिया दिएका छन् । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा महानगरवासीको मोनोरेल चढ्ने सपना पूरा हुने दाबी गरे ।


कम्पनीले सम्झौता गरेको समयसीमाभित्रै प्रतिवेदन बुझाएकामा खुसी व्यक्त गर्दै उनले भने, ‘दुवै महानगरको सहकार्यमा प्रतिवेदन अध्ययन गर्छौं ।’ सकभर एकै चरणमा निर्माण सम्पन्न गर्ने योजना बनाएका छन् । नसक्ने अवस्था आए २ देखि ३ चरणमा भए पनि काम गर्न सक्ने बताए । यसबारे केन्द्र र प्रदेश सरकारसँग काम अघि बढाउनका लागि सहकार्य गर्नेछन् । शाक्यले स्थानीय सरकारको निर्वाचनका बेला घोषणा गरेको ‘सय दिनका सय काम’ मा काठमाडौंमा मोनोरेल निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेका थिए ।

उपत्यका

निद्रा पुग्छ, गन्तव्यमा पुगिन्न

- कान्तिपुर संवाददाता
सूर्यविनायक–तीनकुने सडक खण्डअन्तर्गत जडीबुटीको सवारी जाम । तस्बिर : कान्तिपुर

(भक्तपुर) - दिउँसो २ बजेको थियो । चाँगुनारायण ३ झौखेलकी रीता थापा बिहीबार हतारहतार भक्तपुर दूधपाटीबाट बागबजारसम्म चल्ने बस चढिन् । घरी घडीतिर आँखा डुलाउँथिन् त घरी झ्यालबाट टाउको निकालेर बाहिरको जाम नियाल्थिन् उनी । ३ बजे पुतलीसडक पुग्नुपर्ने भन्दै सुस्काइरहेकी उनी ३ बज्दा लोकन्थलीमै थिइन् ।


उनी मात्रै होइन, हालैका दिनमा समयमै गन्तव्यमा पुग्ने योजना बनाएर घर वा कार्यालयबाट निस्किएका यात्रु दिनहुँ सूर्यविनायक–तीनकुने ६ लेन सडकमा पर्ने जाममा फस्ने गरेका छन् । ‘जामको समय निकालेर गन्तव्य पुग्ने योजना बनाउनुपर्छ,’ उनले भनिन्, ‘घरबाट समय अडकलेर निस्कियो, जहिल्यै जाममा फसिन्छ ।’


राजधानीको पूर्वी भेग जाने सडकको कोटेश्वर–कौशलटार खण्डमा सधैजसो गाडीको जाम हुने गरेको छ । कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार हुँदै गठ्ठाघर चोकसम्मको करिब ४ किलोमिटर सडकमा दिनहुँ घण्टौं जाम हुने गरेको छ । ४ किलोमिटर यात्रा गर्न २ देखि साढे २ घण्टा बढी समय लाग्छ । कार्यालय सुरु हुने समय बिहान साढे ९ देखि ११ बजे र साँझ कार्यालय सकिने समयमा त यात्रुले सास्ती खेप्नुपरेको छँदै छ । सूर्यविनायक–तीनकुने ६ लेन सडक विस्तार हुनुअघि काटेश्वर–भक्तपुर सडकमा यस्तै जामको समस्या हुने गथ्र्याे । सडक विस्तारपछि जाम करिब हटेको थियो ।


सिन्धुली बर्दिबास सडकमा पूर्वी क्षेत्रमा जाने सवारीको चाप बढेपछि सूर्यविनयाक–कोटेश्वर सडकमा यात्रुहरू जामको चपेटामा परेका हुन् । पूर्वी भेगको झापासम्मका सवारी साधन सूर्यविनायक, बनेपा हुँदै बीपी राजमार्ग अन्तर्गत सिन्धुली–बर्दिबास सडक चल्न थालेपछि पनि धेरै जाम भएको जानकारहरू बताउँछन् । ‘सडकको दूरी कम र समयको सदुपयोगका लागि सिन्धुलीबाट जाने यात्रु बढी छन्,’ कमलामाई नगरपालिका डाडीगुराँसेका दिलीप बस्नेतले भने । कोटेश्वरबाट पूर्व चल्ने लामो रुटको सवारी महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वरअगाडि रोक्ने र छोटो रुटको लोकल सवारी जडिबुटी पम्प रोकेर यात्रु चढाउने र ओराल्ने गर्दा जाम हुने गरेको छ । त्यस्तै जडिबुटीबाट लगनखेल र तीनकुनेतर्फ आउने सवारीले लेन अनुशासन पालना नगर्ने भएकाले पनि जाम भएको हो । यसको व्यवस्थापन कोटेश्वर ट्राफिक प्रहरीले गर्न सकेको छैन । सडकमा ट्राफिक लाइट व्यवस्थित छैन । ट्राफिक प्रहरीको इसाराको भरमा ट्राफिक व्यवस्थापन चलेको छ । कोटेश्वरबाट जडिबुटी हुँदै लोकन्थलीतर्फ जाने क्रममा जामको समस्या छैन । तर, लोकन्थलीबाट काटेश्वरतर्फ आउने क्रममा जाम हुने गरेको छ । ‘६ लेन सडक बनेयता कार्यालय समयमा मात्रै जडिबुटीबाट कोटेश्वरसम्म थोरै जाम हुन्थ्यो,’ कौशलटारकी राधिका श्रेष्ठले भनिन् । ‘करिब डेढ वर्षदेखि कौशलटारबाटै जाम हुन थालेको छ । कौशलटारबाट कोटेश्वर आउन डेढ घण्टा लाग्यो,’ उनले भनिन् ।


काठमाडांै उपत्यकामा दिन प्रतिदिन बढदै गएको जनसंख्या तथा सवारी चाप, सीमित साँघुरा सडक सवारी नियम तथा ट्राफिक संकेतसम्बन्धी सडक प्रयोगकर्तामा रहेको ज्ञानको कमीले ट्राफिक जाम बढेको जनाइएको छ । कोटेश्वरबाट पूर्व चल्ने लामो रुटको सवारी साधनको चाप तथा वैकल्पिक सडकको व्यवस्थापन हुन नसक्दा जाम बढेको महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वर पूर्वप्रमुख कृष्णराज सापकोटाले बताए ।

उपत्यका

भाडा बढाउने दाउमा व्यवसायी

बैंक ऋण, चालक तथा सहचालकको तलब तथा मर्मत सम्भारमा खर्च बढेकाले भाडा बढाउनुपर्ने व्यवसायीको माग
- प्रशान्त माली

 (ललितपुर)- नेपाल यातायात व्यवसायी महासंघले ५ वर्षदेखि भाडा नबढेको र यातायात संघ–समितिका बैंक खाता रोक्का गरिएको भन्दै दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन अटेरी गरेको छ । यसले दसंै मनाउन उपत्यकाबाहिर जानुपर्नेहरू मर्कामा परेका छन् ।


यातायात विभागले भदौ २४ बाटै अग्रिम बुकिङ खुलाउने जनाएको थियो । यसबारे विभागका अधिकारी र ब्यवसायीबीच ३ पटक वार्ता भइसकेको छ । विभाग महानिर्देशक लावण्यकुमार शर्मा भन्छन्, ‘ब्यवसायीसँग छलफल भइरहेको छ । जसरी पनि निकास निकाल्छौं ।’


विभागका अनुसार विभिन्न जिल्लाका करिब ४० लाख मानिस राजधानीमा बस्छन् । उनीहरू घर फर्कने मौका पारेर व्यवसायीले भाडा बढाउन खोजेका हुन् । व्यवसायीले सवारीसाधन दर्ता गर्दा सरकारको कानुन नमाने रुट परमिट खारेज हुनेसम्मको लिखित मञ्जुरी जनाएका हुन्छन् । ‘कानुनी बन्देज हुँदाहुँदै पनि टिकट नखुलाउने अडानमा बस्नु गलत हो । निर्देशन अटेर गरे कानुनबमोजिम कारबाही गरिनेछ,’ शर्माले भने ।


यातायात अभियन्ता रामबहादुर थापा भाडा बढे दसैंमा घर जाने यात्रु मर्कामा पर्ने मात्र नभई औषधि, खानेपानी, खाद्यवस्तु, लत्ताकपडा, तरकारी, फलफूललगायतमा पनि मूल्यवृद्धि हुने बताउँछन् । ‘२०४५ मा यात्रुसँग ५ रुपैयाँ लिने सडकमा अहिले ५० लिन्छन् । ट्याक्सीको मिटर ३ रुपैयाँबाट बढेर १४ पुगेको छ । ५ हजार रुपैयाँ लिने ढुवानी गाडीले ३० हजार लिन्छ । जब कि राज्यले व्यवसायीसँग लिनुपर्ने विभिन्न १० वटा शीर्षकमा कुनै राजस्व बढेको छैन,’ थापाले भने । विभागले जाँचपास, रुट परमिट, अञ्चलीकरण, नामसारी, प्रदूषण चेकजाँच, ब्लुबुक नवीकरण गर्दा लिनुपर्ने राजस्व बढाएको छैन । सरकारले ज्येष्ठ नागरिक, अपांगता तथा विद्यार्थीलाई छुट दिएबापत व्यवसायीलाई ४५ प्रतिशत कर छुट दिने गरेको छ ।
ज्येष्ठ नागरिक र अपांगता भएकाले छुट नपाएको गुनासो उत्तिकै छ । सरकारले सार्वजनिक गाडीमा १ देखि ४ किमिसम्म यात्रा गर्दा १३ रुपैयाँ भाडादर तोकेको छ । तर, गाडी चढ्नेबित्तिकै १५ रुपैयाँ र ४ किमि यात्रा गर्दा दोब्बरसम्म लिने गरिएको पाइएको छ ।


यातायात व्यवसायीले भने बैंक ऋण, चालक, सहचालकको खर्च र टायर, बेरिङलगायत १८ प्रकारका सामानको मूल्यवृद्धि भएकाले भाडा बढाउनुपर्ने तर्क गरेका छन् । महासंघ अध्यक्ष योगेन्द्र कर्माचार्यले गाडीमा लाग्ने इन्धन तथा पार्टपुर्जामा बर्सेनि मूल्यवृद्धि भए पनि सरकारले भाडादर समायोजन नगरेको गुनासो गरे । ‘भाडादर समायोजन नगरेको पाँच वर्ष भइसक्यो,’ उनले भने, ‘माग पूरा नभए दसैंमा थपिँदै आएका ५ सय बससमेत थप्न सकिँदैन ।’

Page 6
सम्पादकीय

न सबुद न संवाद

- कान्तिपुर संवाददाता

प्रहरी आफूलाई बर्दीसहितका नागरिक र नागरिकलाई बर्दीबिनाका प्रहरी भन्छन् । उनीहरू समाजको शान्तिसुरक्षाका अभिन्न अंग हुन् । जनविश्वास नै उनीहरूको आत्मविश्वास हो । प्रहरी सेवा पवित्र मनको पेसा हो भन्ने मनन हुनसके समाजमा कानुन पालना प्रभावकारी हुन्छ । समाजमा प्रहरी छन्, देशमा कानुन छ भन्ने विश्वास स्थापित हुन्छ ।


समाजमा सबै एकै धारणा र स्वार्थका सदस्य हुँदैनन् । शक्ति र आसक्तिका व्यसनी, अपराधी मनोवृत्तिका व्यक्तिहरू पनि हुन्छन् । अपराध कहीँ पनि निर्मूल हुन सक्दैन, नियन्त्रण वा रोकथाम मात्र गर्न सकिन्छ । कसैले ज्यादती गर्‍यो भने पनि प्रहरीले पीडितलाई साथ दिन्छ, प्रमाण बटुलेर दोषीलाई कठघरामा उभ्याउँछ । कसैले अर्घेल्याइँ गर्‍यो भने पनि प्रहरी छ भन्ने डर हुन्छ र प्रहरीकै डरका कारण समाज निडर । त्यसकारण प्रहरी हाम्रो साथी ।


कञ्चनपुरकी अभागी बालिका निर्मला पन्तका अभिभावकले त्यस्तो कुनै भरथेग पाउन सकेनन् । प्रहरीको न आड न आश्वासन । उल्टै हप्कीदप्की, मानसिक यातना र अब त न्याय पाउन नसक्ने विक्षिप्तता । हराएकी छोरी खोजिदिन नजिकको प्रहरीचौकीमा हारगुहार गर्न पुगेका अभिभावक छोरीको बलात्कारपछि हत्यासँगै प्रहरी भूमिका र रवैयाबाट झन्डै दुई महिनासम्म हायलकायल भए । केही सिप नचलेपछि शोकमग्न परिवार प्रधानमन्त्री भेट्न राजधानी ।


यो घटनाको शंकाको केन्द्रमा प्रहरी कसरी पर्‍यो भन्नेमा कुनै शंका गर्नुपर्ने रहेन । पीडित परिवार मात्र होइन, छरछिमेक र समाजका निर्भीक महिलाले यसबीच जेजस्ता भुक्तमान र त्रासदी बेहोरे, त्यसका विवरण आफैँ ऐनाझैँ प्रस्ट छन् । यसले नेपाल प्रहरी संगठनकै कार्यशैली र संस्कारमा भित्रभित्रै हुर्किरहेको प्रवृत्ति हो कि होइन भनेर जाँच्नुपर्ने बनाएको छ । प्रवृत्ति होइन भने यस घटनाको सुरुदेखिकै स्थानीय प्रहरीको व्यवहारप्रति प्रधान कार्यालयले कान ठाडो र आँखा चनाखो पार्नुपर्ने थियो ।


जनता किन प्रहरीलाई विश्वास गरिरहेको छैन, किन झन् प्रहरी कार्यालय घेर्न आउँदै छ, किन निहत्था प्रदर्शनकारीलाई गोली हानिँदै छ र बालकको घटनास्थलमै मृत्यु भएको छ, केही गम्भीर घाइते भएका छन्, पीडित परिवारले खोजेको के हो भनेर किन प्रधान कार्यालयले चासो दिन सकेन ? उल्टै प्रहरी छानबिन टोलीहरूले नक्कली आरोपी खडा गरे, गृहमन्त्री र प्रधानमन्त्रीले काठमाडौंमा गलत जानकारी र विचार प्रवाह गरिरहे, महानिरीक्षकले दिएको सान्त्वनाको कुनै असर परेन ।


किन ? सुरुवातदेखि नै प्रहरी भूमिका शंकास्पद छ । न उसले पीडित परिवारसँग संवाद गरेको छ न सबुद संकलन । अपराध भएको थाहा पाउनासाथ प्रहरीले सुरुदेखि मिहिन अनुसन्धान गर्छ । बलात्कार–हत्या त्यो स्थानमा भएको हो कि होइन ? संघर्ष भएको छ कि छैन ? झाडी माडिएको छ कि छैन ? प्रमाणका लागि सम्पूर्ण भौतिक सबुत संकलन गर्छ । सानोभन्दा सानो रौं पनि छुटाउँदैन । ‘सिन अफ क्राइम’ लाई प्रमाणका लागि नियन्त्रणमा राख्छ ।


निर्मलाको शव फेला परेपछि प्रहरी अधिकृत भने प्रमाण सुरक्षा गर्न होइन, नष्ट गर्न महिला सहकर्मीलाई अह्राउँछन् । सुरुवाल पखालेर निचोर्न र यौनाङ्गमा पानी छ्याप्न लगाउँछन् । प्रहरीको काम दसी प्रमाण संकलन गर्ने र मुद्दा प्रयोजन रहेसम्म त्यसलाई यथास्थितिमा संरक्षण गर्ने हो । मुचुल्का बनाई सिलबन्दी गर्ने ।


आफूले अनुसन्धान गरिरहेको कुनै घटना वा मुद्दामा जब प्रहरीले नागरिकको विश्वास जित्दैन र सर्वसाधारणले भरोसा गर्न छाड्छन्, उसले आफूलाई गम्भीर समीक्षा गर्नैपर्छ । नागरिकको विश्वास नजिती प्रहरीको कर्तव्यपरायणता पूरा हँुदैन, प्रहरीको परायणता समाजको ऐनामा देखिन्छ । निर्मलाका लागि न्यायको संघर्ष दोषी पत्ता लगाउने त छँदै छ, प्रहरी सुधार्ने पनि एउटा प्रमुख नागरिक अठोट बन्नेछ ।

दृष्टिकोण

विवादित सैन्य अभ्यास

स्थापनाको २ दशक बितिसक्दा पनि संस्थाको वडापत्रसमेत बनाउन नसकेको बिमस्टेकबाट धेरै अपेक्षा गर्नु भ्रम मात्र हुनेछ ।
- ध्रुव कुमार


विश्व राजनीतिमा अन्योल र अनिश्चिततासितै शक्ति–राष्ट्रहरूबीच हतियारको होडबाजी र बढ्दो सुरक्षा चुनौतीको परिवेशमा सैनिक कूटनीतिको महत्ता पनि बढ्दै गएको छ । यही सन्दर्भमा नेपाली सेनाले कुनै पनि मित्रराष्ट्रबीच हुने द्विपक्षीय वा बहुपक्षीय सैन्य अभ्यास वा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा व्याख्या गरेझैं तालिममा सहभागी हुनु कुनै नौलो कुरा होइन । यो सेनाको व्यावसायिकताकै निरन्तरता हो । तर बिमस्टेक सदस्य राष्ट्रहरू बीचको सैनिक अभ्यासको विषय भने हामीकहाँ विवादित भयो । सरकारी स्तरमै परस्पर विरोधाभासपूर्ण वक्तव्य जारी हुँदा यसले सार्वजनिक बहस झन् ततायो । सत्तारुढ दलकै वरिष्ठ नेताहरूको विमति छताछुल्ल हुनपुग्दा यस मुद्दामा सरकार, त्यसमा पनि प्रधानमन्त्री ओलीको अडान एक्लिन पुग्यो । रक्षा र परराष्ट्र मन्त्रालयले समेत सैनिक अभ्यासबारे अनभिज्ञता व्यक्त गरेपछि राजनीतिक तथा कूटनीतिक स्तरमा समेत त्यसबारे कुनै छलफल नभएको र सरकारको सम्बन्धित निकायबीच आवश्यक समन्वयसमेत नभएको बुझ्न सकिन्छ । तसर्थ नितान्त प्राविधिक तथा आर्थिक सहकार्यको अवधारणाबाट प्रेरित बिमस्टेकभित्र सैनिक अभ्यासको प्रसंगले गर्दा हाम्रो विदेश सम्बन्धमा भन्दा आन्तरिक राजनीतिक सम्बन्धमा गहिरो जटिलता थप्ने काम गरेको छ । किनकि भारत यसै पनि हामीप्रति बक्रदृष्टि राख्न अभ्यस्त छ ।


बिमस्टेक सदस्यहरूबीच सैनिक अभ्यासको विषय भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र उनीमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीको स्वीकृतिपछि गत जुन महिनामै निर्णायक स्तरमा पुर्‍याएका थिए । सेना–सेना बीचको सम्पर्कबाट यस कार्यलाई अघि बढाउँदा कूटनीतिक तहमा कुनै टुंगो लगाइएन । मुलुकको मन्त्रिपरिषद समेत यसबारे बेखबर रह्यो । विवाद चर्किएपछि मात्र नेपाली सेनाले भाग नलिने सुनियो । तर सेनाको प्रवक्ताको भनाइ पत्याउने हो भने ‘नजानु भन्ने कुनै निर्देशन त आएको छैन’ उनको भनाइको आशय समय घर्किसकेकाले मात्र सेना नपठाइएको हो । यसबाट के बुझिन्छ भने सेनाजस्तो संवेदनशील राष्ट्रिय निकायबारे समेत हाम्रा राजनीतिज्ञहरू हचुवाको भरमा निर्णय लिन्छन् । कुनै आधिकारिक प्रक्रियाबाट ती निर्णय अघि बढाइँदैन । सेनामा निजत्व कुनै व्यक्ति विशेषको नभई जनताको हुने भएकाले कुनै पनि अपारदर्शी निर्णय विवादको जड हुन्छ ।


सैनिक अभ्यासको विवादित निर्णय पछाडि सरकारको कूटनीतिक दुर्वलता स्पष्ट भए पनि गल्ती सुधार्न सचेत रहेको पुष्टि हुन्छ । यथार्थमा सैनिक अभ्यासमा नेपाली सेनाको सहभागिताको निर्णयभन्दा संयुक्त राष्ट्र संघजस्तो संस्थाले समेत नरसंहारको बात लगाएको म्यान्मारको कुख्यात सेनासित हाम्रो सेनाले अभ्यासको क्रममा कस्तो अनुभव साटेर शान्ति स्थापनाको कार्यविधि वा विपद् व्यवस्थापनबारे सिक्ने भन्ने नै चिन्ताको विषय थियो । त्यस्तै भारतीय सेनाले समेत प्रयोग गर्न नचाहेको इन्सास राइफल बोकेर हाम्रो सेनाले आतंकवादीसित जुध्नसमेत सशक्त र सक्षम हुन नसकेको अनुभव गरिनैसकेको हँुदा ओलीले कस्तो तालिममा पठाउन चाहेका थिए, त्यो बुझ्न सकिएन । बिमस्टेक सैनिक अभ्यासको यो विवादित विषयले नागरिक सरकार र सेनाको सम्बन्धलाई पुन: एकपल्ट आकर्षित गरेको छ । सेना राष्ट्र र जनताका लागि हो, कसै अरूको मनोरञ्जनका निम्ति होइन । यस तथ्यप्रति सरकारी उदासीनताले अनिष्ठ निम्त्याउन सक्छ ।


बिर्सन नहुने अर्काे तथ्य बिमस्टेक निर्वाचित अधिनायकवादीहरूको बाहुल्य भएको समूह हो । स्थापनाको २ दशक बितिसक्दा पनि संस्थाको वडापत्र (चार्टर) समेत बनाउन नसकेको संगठनबाट धेरै अपेक्षा गर्नु भ्रममात्र हुनेछ । बिमस्टेकमा विश्वका महान लोकतान्त्रिकदेखि नोबेल शान्ति पुरस्कार विजेताको नेतृत्वमा रहेको अनि सैनिक शासकहरूले ओगटेका राष्ट्र अटाएका छन् । आफ्नै मुलुकका ४० लाखभन्दा बढी बासिन्दालाई गैरनागरिक बनाउँदै राज्यविहीन गर्ने, बुद्धिजीवी तथा पत्रकारहरूको मुखमा बुजो लगाउने, अल्पसंख्यकहरूको मानव अधिकार हनन गर्नुसितै नागरिकता खोसेर शरणार्थीको ओइरो लगाउने र जाति र धर्मप्रति असहिष्णुता देखाई भिजिलान्ते प्रयोग गर्ने क्रूर नेतृत्व पनि बिमस्टेकका शक्तिशाली सदस्य राष्ट्र छन् । हामी कस्ता राष्ट्रहरूको समूहमा छौं, त्यसबाट पनि हाम्रो राष्ट्रिय पहिचान बन्छ । यो सन्दर्भ उल्लेख गर्नुको कारण राज्य अथवा राष्ट्रिय चरित्रको प्रभाव संगठनको ढाँचा र सञ्चालन प्रक्रियामा पनि पर्छ भन्ने बुझाइले हो । त्यसैले असंलग्न आन्दोलन र सार्कजस्ता उपयोगिताहीन संगठनको सदस्यता/अध्यक्षता जस्तै बिमस्टेकको अध्यक्षता गर्नु हाम्रो कूटनीतिक सफलताको परिचायक होइन ।


इतिहास दोहोरिँंदैन । तर इतिहासबाट सिक्नु अत्युक्ति हुँदैन । बिमस्टेक समारोहमा ओलीको छवि टल्काउन निकै पालिस लगाइएको जनताले देखे । सडकदेखि यत्रतत्र सर्वत्र ओली नै ओली र उनको आकर्षित खाइलाग्दो मुहारचित्र भव्यताका साथ प्रदर्शन गरियो । राजधानीका सडकहरू जनता होइन, हतियारधारी सुरक्षाकर्मीका बाक्लो गस्तीले भरियो । त्यसको निम्ति जनताको करले भरिएको राष्ट्रिय ढुकुटी कति रित्तियो, त्यो त बिमस्टेक पर्व मनाउनेहरूले बुझेका छन् । तर ओलीको मुहारचित्रको प्रदर्शन र भित्तामा लेखिएका वाक्यहरूले अपेक्षित प्रतिक्रिया पाउन सकेन । यसले ओलीको व्यक्तित्व चम्किनु सट्टा धुमिल भएको र उनीप्रतिको सद्भाव पातलिँंदै गएको संकेत देखिन थालेको छ । तीनकुनेको सिंगारिएको मनमोहक बाह्य रूप ठेकेदारले त्यहाँको जस्तापाता झिकेपछि देखिएको कुरूपता सरकारी सफलताको दाबीले नछोपिए जस्तै मुलुकको दुरावस्था कसैबाट लुक्न सकेन । यसमा प्रधानमन्त्री स्वयंकै अप्रत्यक्ष स्वीकारोक्ति छ । जुन उनले संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै अघिल्लो हप्ता सुनाए । यही सन्दर्भमा जातीय हिंसा भड्किनेसमेत उनले आशंका व्यक्त गरे । यस त्रासदीले उनीभित्रको तथाकथित खस–आर्यको असुरक्षित मनोग्रन्थि सल्बलाएको बुझ्न सकिन्छ । शान्ति, सुरक्षाको स्थिति खस्किनुप्रति भने ओलीको चिन्ता अनाहक होइन । काठमाडौंमा आफ्नै घरको शयन कक्षमा पूर्व राजदूतको हत्या हुनु अनि पार्किङ गरिएको कारभित्र हत्या गरिएको पुरुषको शव भेटिनु आकस्मिकता होइन । यसबारे सरकारको गम्भीर्यतामा भने कोही आश्वस्त छैन ।


२०१४ मा सत्तारोहण गरेपछि भारतीय प्रधानमन्त्री मोदीको सुन्दर मुहार र ‘अच्छे दिन’को प्रचार–प्रसार कार्यमा भाजपा सरकारले अहिलेसम्म ५० करोड अमेरिकी डलर खर्चेको तथ्यांक गत महिनामात्र सार्वजनिक भएको छ । अर्काे वर्ष ९० करोड मतदाताले भाग लिनसक्ने निर्वाचन आफ्नो पोल्टामा पार्न उनले कुनै कसर बाँकी राखेका छैनन् । पत्रकारहरूसित कहिल्यै हिमचिम नगर्ने मोदीले केही समयअघि तामिलनाडु राज्यका केही सम्पादकहरूसित ‘अफ द रेकर्ड’ अन्तरक्रिया गर्दै त्यहाँ भइरहेको किसान आन्दोलनबारे संयम अपनाउन सांकेतिक भेट गरेका थिए ।


सायद त्यही भेटघाटको खबरबाट प्रभावित भएर हाम्रा प्रधानमन्त्री ओलीले पनि २० जना सम्पादकहरूसित बसिबियाँलो गर्दै ‘जनतामा निराशा नआओस् र प्रेसले निराशा बाँड्ने काम नगरोस्’ भनी दिव्य उपदेश दिई आफ्नो असफलता छोप्ने प्रयास गरेको खबर छापिएको थियो । प्रेसले निश्चय पनि निराशा फैलाउने समाचार छाप्नु हुँदैन । तर सत्ताधारीहरूले प्रेसलाई सरकारी प्रवक्ता बनाउन खोज्नु पनि हँुदैन । किनकि प्रेस समाचार उत्पादन गर्ने कारखाना होइन । सायद प्रेसलाई सरकारले नै निराश गर्नुले नै हुनसक्छ, मुलुकी ऐन संहितामा आवश्यक सुधारको माग गर्दै प्रेस धर्नामा बसेको छ । कलममा अंकुश लगाउनाले विद्रोह जन्माउँछ । नेपाली सञ्चार माध्यमलाई सेनाको कब्जामा राखेर कुल्चिने प्रयत्नसमेत गरिएकै थियो । परिणामत: यसले प्रतिवाद (रेसिसटेन्स) नै बढायो । निषेध र बन्देज कमजोर सत्ताकै प्रतीक हुन्छ । जसमा जनसमर्थन हँुदैन । कडीकडाउ संहिताले जनतालाई मात्र छुने जस्तो छ । वैयक्तिक गोपनीयताको विधेयकले यस्तै संकेत गर्छ । नेतामा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण गुण सहिष्णुताको अभावले नै हुनसक्छ, कडीकडाउ संहिता लागु गरिएको छ । मुलुकले कानुनी राज्य (रुल अफ ल) खोजेको हो, काुनको राज (रुल वाइ ल) होइन ।


सरकारप्रति जनताको मनोभाव नउकासिनुको कारण जनता के सोच्दैछन्, त्यसप्रति सरकार निरपेक्ष रह्यो । यसैले युवा वर्ग निराश छन् । उनीहरू ओलीका निरर्थक प्रतिबद्धताबाट उत्साहित छैनन् । अन्तर्राष्ट्रिय सञ्चार र सामाजिक सञ्जालमा सहज सम्पर्कमा रहेका शिक्षित तर बेरोजगार युवा मुलुकको अवस्थाप्रति चिन्तित छन् । साधारणतया उनीहरू राजनीतिज्ञ तथा सत्ताधारीहरूप्रति क्षोभ व्यक्त गर्न हच्किँदैनन् । अधिकांश २०४६ सालपछि जन्मेका खुला वातावरणमा हुर्केका तिनीहरूले पञ्चायत व्यवस्थामा राजाको प्रत्यक्ष शासनबारे सुनेका छन् । हाम्रा नेताहरू ठग हुन्, फटाहा र लुच्चा हुन् भनी सुन्न, देख्न र भोग्न पाएका छन् । राज्यसत्ताको दुरुपयोगमा सबै दलले ‘रेकर्ड ब्रेक’ गरेका उनीहरू भन्छन् । भाँडभैलो निम्ति दललाई जिम्मेवार ठान्छन् । ओली सरकारले पाँच वर्षसम्म निर्धक्क सत्ताको संवैधानिक ‘ग्यारेन्टी’ पाएको हुँदा संसद् र न्यायालयलाई पत्रु बनाएर स्वेच्छाचारी हुने सम्भावना बोकेको छ । ओली सत्तासित प्रतिपक्षीको चरम विमतिभन्दा उनी स्वयंको अराजक व्यवहारले सरकारप्रति जनमत प्रभावित गर्नेछ ।


सत्ता र शक्ति केन्द्रीयताको उनको व्यवहारले संघीयता संविधानमै सीमित भएको छ । जनता सम्पन्न र सुरक्षित हुन आर्थिक र राजनीतिक शक्तिले लोकतान्त्रिक मान्यता अनुरूप वितरित हुनुपर्छ । समृद्धिको भ्रम छरेर होइन । राजनीतिक नेतृत्व तथा दलहरूले आफ्नो भूमिकामा पुनर्विचार गर्नुपर्छ ।

पाठक मञ्च

शक्तिशाली छानबिन आयोग आवश्यक

- कान्तिपुर संवाददाता

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको आमाबाबुका भनाइ बिहीबारको कान्तिपुरमा विस्तृत आएको छ । प्रहरीको एउटा समूहलाई हत्यारा यो हो भन्ने थाहा छ । त्यो समूह कसैलाई बचाउन लागेको छ । नातेदार वा पैसाका कारण उनीहरू हत्यारा लुकाइरहेका छन् । यसले प्रहरी प्रशासनको बदनाम भइरहेको छ । प्रहरी प्रमुख र गृहमन्त्रीमाथि पनि आरोपका छिटाहरू आइपुग्नु स्वाभाविक हो । यो हत्याको सूचना प्रहरीसंँग भएको उनीहरूको प्रारम्भिक गतिविधिबाट देखिएकाले प्रहरीलाई नै केरकार गर्नसक्ने हैसियतको छानबिन समिति आवश्यक छ । गृहमन्त्रीले यसतर्फ ध्यान दिनुपर्छ ।


हत्याको भोलिपल्टै घटनास्थल नजिकका प्रहरी सरुवा गरिए । उनीहरूलाई सरुवा गर्नुको भित्री रहस्य खोजिए र ती सरुवा भएका प्रहरीहरूसंँग सम्पर्क गरिएमा हत्याबारे सूचनाको नजिक पुग्न सकिन्छ । शंका लागेको भनिएका एसपीका छोरासहित ३ केटा र ३ केटी सोही दिन ओपेरा होटल गएको भनिएको छ । होटलमा सिसी क्यामेरा हुनसक्छ । ती को–को थिए, क्यामेराबाट पत्ता लाग्न सक्छ वा एसपीका छोरासंँग बयान लिँदा तिनीहरू को–को हुन् भनी उब्जेका आशंकाको नजिक पुग्न सकिन्छ । होटलमा काम गर्नेहरूलाई पनि आएका मानिसको हुलिया थाहा हुनसक्छ । बम दिदीबहिनीलाई एसपीका छोराले नचिनेको बताएका थिए । दुबै बीचको चिनजान थियो भन्ने प्रमाण जुटाउन सकिने सम्भावना उत्तिकै छ । शंकास्पद अन्य व्यक्तिको डीएनए परीक्षण गर्न सकिन्छ । बयान दिनेले झुटो बोलेको छ कि छैन भनी पत्ता लगाउने यन्त्र पनि उपलब्ध छ । यो घटनामा शंका लागेकाहरूमा त्यो यन्त्रको प्रयोग गर्नुपर्छ ।


निर्मलाको हत्या लास भेटिएको स्थानमा भएको होइन । उनलाई अन्यत्र हत्या गरेर लास त्यस स्थानमा ल्याइएको हो । लासलाई अरूले त्यहाँसम्म ल्याएर फाल्न सक्दैनन् । यसमा प्रहरीको सहयोग आवश्यक हुन्छ । यसका लागि प्रहरीको गाडी वा प्रहरीको नियन्त्रणमा रहेको गाडी प्रयोग गरिएको हुनसक्छ । गाडी चालकसँग बुझ्दा पनि घटनाको नजिक पुग्न सहयोग हुन्छ ।
– विजयप्रसाद मिश्र,ललितपुर
***


समाचार लेखेकै आधारमा पत्रकारलाई हतकडी लगाएर बयान लिने अनि बलात्कारीलाई बचाउने ? कति प्रपञ्च रचिरहेको छ । अपराधी को हुनसक्छ भन्ने कुरा घामजस्तै भएको छ । तर प्रहरी प्रशासन अपराधीलाई बचाउन दिनरात लागिरहेको छ । गणतन्त्र यसैका लागि हो ? नयाँ संहिता आए पनि पुरानै रहे पनि आखिर ‘सानालाई ऐन र ठूलालाई चैन’ हुने भए, किन यो परिवर्तनको ढ्वाङ फुकेर दुनियाँलाई भ्रम छर्नु ? दुई तिहाइको एकमना सरकार भएका बेला यसरी अपराधीले छुट पाइरहेको छ । के हिजो झापा आन्दोलन यसैका लागि थियो, प्रधानमन्त्रीज्यू ? के १० वर्षे सशस्त्र युद्ध यसैका लागि थियो, गृहमन्त्रीज्यू ? हैन भने दुनियाँलाई थाहा भइसक्यो अपराधी को भनेर, प्रहरी प्रशासनले किन थाहा नपाएको होला ? यहाँभन्दा लाज लाग्ने अरू कुनै विषय हुन्छ र ? पीडितले न्याय पाउने दिन कहिले आउला ?
– रमेश राई,खोटेहाङ–९ लिच्कीराम्चे, खोटाङ
***


निर्मला पन्त बलात्कार र हत्याको पश्चिमदेखि पूर्वसम्म विरोध भइरहेको छ । कक्षा ९ मा अध्ययनरत १३ वर्षीया ती बालिकाको कलिलो शरीरमाथि शोषण गरिसकेपछि पोल खुल्ने शंकाले मारिदिनेहरू चाहे प्रधानमन्त्रीका भान्जा होउन् वा गृहमन्त्रीका साला, सुरक्षा प्रमुखका छोरा होउन् वा नगरप्रमुखका नातेदार जो होस्, कानुन सबैलाई लाग्नुपर्छ । अब गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदन आउँदैछ । त्यसबाट घटनाको सत्य–तथ्य खुलेर आए बलात्कार र हत्याको दोषी पत्ता लाग्ने हो । तर राजनीतिक संरक्षण हुनेगरी वा विपरीत प्रतिवेदन पेस हुनआएछ भने फेरि कञ्चनपुरदेखि झापासम्म आन्दोलन भड्कने र अरू मान्छे मर्ने सम्भावना रहन्छ । तसर्थ सरकारले समयमै तदारुकतासाथ तत्काल यथार्थ पत्ता लगाई मुख्य दोषीहरूलाई खोजी, पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउनु बुद्धिमानी हुनेछ । निर्दोष र निरपराध सर्वसाधारण कसैलाई जबर्जस्ती पक्री वकपत्र गराउने, थुनामा राख्ने जनविरोधी काम पटक्कै गर्नु हुँदैन ।
– हेमसागर पाठक,कनकाई नगरपालिका–३, झापा
***


झन्डै १ महिनाअघि बलात्कारपछि हत्या गरिएकी निर्मलाको वास्तविक अपराधी पत्ता लाग्नसकेको छैन । न्यायका लागि भएको आन्दोलनमा अर्का एक बालकले ज्यान गुमाएर सहिद दरिए भने अरू २ जना अझै गम्भीर घाइते अवस्थामा छन् । आन्दोलनले उग्ररूप लिँदै गएपछि सरकारले प्रहरी प्रधान कार्यालयका अतिरिक्त केन्द्रीय अनुसन्धान जाँच व्युरो (सीआईबी) लगायत उच्चस्तरीय छानबिन समिति पनि बनायो । केही दिन पहिले उक्त समितिका सदस्यले निर्मलाले न्याय पाउन सक्ने अवस्था नभएको तथा उनीमाथि ज्यानको धम्की आएको भन्दै राजीनामा गरे पनि फेरि गृहमन्त्री तथा गृहसचिवको आश्वासनमा पुन: समितिमा फर्केको भन्ने समाचार पढियो । यति धेरै चासो र सर्वत्र चिन्ताको विषयमा अझै हत्यारा पत्ता लाग्न नसक्नुभन्दा घटना भएदेखि स्थानीय प्रहरी, प्रशासनको भूमिकाबारे धेरै टिक्काटिप्पणी आएका छन् । प्रमाण नष्ट गर्न लागिपर्नेदेखि तत्कालीन साना युनिटका प्रहरी प्रमुखसम्मको हठात सरुवाले सन्देह जन्माएको छ ।


पञ्चायतकालमा २ युवती दिदीबहिनी नमिता–सुनिताको हत्या भएको थियो । हत्याका बेला वन कार्यालयका वनपाले तथा १ जना पैदलयात्रीले पनि ज्यान गुमाउनुपरेको थियो । उक्त घटनापछि पोखरामा रहेका शक्तिशाली अञ्चलाधीश तथा सीडीओको रातारात सरुवा गरिएको थियो । जबकि उनीहरूका बाबु स्वयं सचिव पदमा बहाल थिए । देखाउन अनेक प्रयास भए, तर वास्तविक हत्यारा पत्ता लागेन वा धेरैले शंका गरेका व्यक्ति कानुनको नजरमा दण्डित भएनन् । ती किशोरीहरू पद्म कन्या कलेजबाट बाहिर निस्कँदा कसैले जिस्क्याउँदा चप्पल प्रहार गरेपछि प्रतिशोधको रूपमा हत्या गरिएको पढेको थिएँ । ती कुटाइ खाने त्यसबेलाका दरबारिया सदस्य भएपछि तिनलाई पक्राउ गरेर सोधपुछ गर्ने कसको हिम्मत ?
अहिले निर्मलाको सवालमा पनि प्रमाण नष्ट गराउनेहरू जोकोही पदधारी हुनसक्छन् । त्यसपछि जरा केलाउँदै जाने हो भने पत्ता लाग्न समय लाग्ने छैन । त्यसमाथि कैयन रहस्यमय हत्याकाण्ड तथा अपहरणमा अब्बल क्षमता देखाएको सीआईबी लागिपरेपछि यति धेरै समय लिनु नपर्ने हो । तर, किन यस्तो भइरहेछ ?
– श्रीकृष्ण राजवंशी,सुनकोसी–३, सिन्धुली
***


बर्दीधारीे हाम्रो समाजमा अभिशाप हैन, वरदानको रूपमा चिनिन्छ । बुझ्नुपर्ने यतिमात्रै हैन, राज्यलाई शान्ति दिलाउन, न्याय र निष्पक्षका लागि, अपराध अनुसन्धानका साथै दोषीलाई कठघरामा ल्याउन उनीहरूको धेरै ठूलो भूमिका हुन्छ । तर आजभोलि स्वयम् प्रहरीबाटै बर्दीको अपमान भइरहेछ । आपराधिक क्रियाकलाप निस्तेज पार्ने प्रहरीहरू त्यसको ठिक विपरीत आफ्नै नेतृत्वमा आफै अमानवीय क्रियाकलापमा संलग्न भइदिनाले यो संगठनको छवि धुमिल हुँदैछ । केही महिना अघिमात्रै सुनकाण्डमा घुसको लोभमा सुन गोरेसँग सहकार्य गरी नेतृत्व गर्ने प्रहरीले नै बर्दीको दुरुपयोग गरी सुन चोरी–निकासी गर्ने गरेको खुलेको थियो । निर्मला हत्याको विषयलाई हेर्दा तत्कालीन महेन्द्रनगर प्रहरी प्रमुख र उनी मातहतका केही प्रहरी प्रशासनले प्रमाण नष्ट पार्ने गैरजिम्मेवार कार्य गरेको देख्दा तथा वास्तविक अपराधी पत्ता नलगाई सोझासाझा जनतालाई चरम यातना दिएका तथ्य सार्वजनिक भएको देख्दा यसले बर्दीको दुरुपयोग गरेको प्रस्टै बुझिन्छ ।
– तेजेन्द्र चौधरी,कुपन्डोल, ललितपुर
***


निर्मलाको बलात्कारपछिको हत्या दिन–प्रतिदिन रहस्यमय बन्दै गएको छ । मात्र १३ वर्षकी थिइन् निर्मला, के कसुर थियो तिनको ? आज हत्या भएको महिना बितिसक्दा पनि प्रहरीले उनको हत्याराको पहिचान गर्नसकेको छैन । किन निर्मला हत्याकाण्डमा प्रहरी पछि परेको छ ? किन प्रहरीप्रति नै शंका गर्नुपर्ने अवस्था सिर्जना भएको छ ? कसको दबाबमा पीडितलाई सुरुदेखि नै प्रहरीले प्रताडित बनाइरहेको छ ? किन केन्द्रीय प्रहरी कार्यालयले आफ्नो दक्षता अनुसार काम गरिरहेको छैन ? यस्ता अनगिन्ती प्रश्न पश्चिमको कञ्चनपुरदेखि देशभरि नै उठिरहेको छ, यसबखत ।


न्यायका लागि सर्वसाधारण सडकमा कराइरहेका छन् । यता सरकार आफूलाई इतिहासकै बलियो रूपमा प्रस्तुत गरिरहेको अवस्थामा निर्माला हत्याकाण्डमा भने अझै मौनता साँधेर बसिरहेको छ । निर्मलाका क्रन्दनले यो देशलाई छोएको छ । उनको पीडालाई ३ करोड नेपालीले महसुस गरेका छन् । अत: पीडक पक्षले पहिलेदेखि अहिलेसम्म प्रहरीतर्फ नै प्रश्न गरिरहेका छन् । किन हामीमाथि दुव्र्यवहार गरियो ? ‘हामीलाई मात्र न्याय चाहिएको छ । हामीलाई न्याय देऊ, दोषीलाई कारबाही गर’ उनीहरूको यही माग छ । कञ्चनपुरमा भएको यो जघन्य अपराध अनुसन्धानमा प्रहरी किन असफल भए वा पर्दा पछाडिबाट कसैले प्रहरीलाई असफल बनायो ? यसबखत प्रहरीले अपराधीको रूपमा पहिचान गराएका व्यक्ति निर्दोष सावित भएका छन् । सबैको ध्यान प्रहरी प्रशासनमा केन्द्रित भएको छ । नेपाल प्रहरीले छिटो दोषीलाई सार्वजनिक गर्न सक्नुपर्छ, अन्यथा कञ्चनपुर घटनाले नेपाल प्रहरीलाई मात्र नभई सरकारलाई समेत असजिलो अवस्थमा पुर्‍याउन सक्छ ।
– रामकृष्ण बराल,जोरपाटी–२, काठमाडौं
***


‘निर्मलाका बा–आमा न्याय माग्न काठमाडौं, प्रहरीबाटै प्रमाण नष्ट’ भनाइसहित प्रकाशित समाचारले पीडित पक्षले न्याय पाउलान् भन्ने आशा गरिए पनि विश्वस्त हुन सकिन्न । किनकि आफ्ना छोराको हत्या भएपछि हत्यारालाई पक्राउ गरी कारबाही गराउन आमरण अनशनमा बसेर नन्दप्रसाद अधिकारीको इहलीला समाप्त भइसकेको छ । निर्मलाको बलात्कारपछि हत्याबारे अनुसन्धानको चुरो पहिल्याउन गठित उच्चस्तरीय अनुसन्धान आफै कुहिराको कागजस्तो बनेको छ । जसलाई बलात्कारपछि हत्या कबुल गराएर थुनामा राखिएका थियो, तिनीहरू निर्दोष ठहर भएपछि अब कसलाई अपराध स्वीकार गर्न लगाउने ? यो विषय झन् जटिल र पेचिलो बन्दै गएको छ ।


अब प्राप्त प्रमाणहरूले वास्तविक हत्यारा खुल्न कठिन हुनसक्छ । अनुसन्धानमा संलग्न पदाधिकारीहरूको एउटै मिसन, अभिष्ट र गन्तव्य हुनुपर्नेमा समिति नै विभाजित देखियो । आपसी हानथापका कारण सूक्ष्म अनुसन्धान हुन नसकी राजीनामा गरी बाहिरिएका सदस्यको भनाइले बुद्धिजीवीहरू गम्भीर टिप्पणी गरिरहेका छन् । अनुसन्धान आफैमा कतै हराएको शक्तिको त्रासबाट डराएको तथा भ्रममा बर्बराएको मात्रै देखिएको छ । गोप्य राखिएका विषयहरू आजसम्म बाहिर सार्वजनिक भएकाभन्दा भिन्न र पृथक छन् ।
यसले अर्को अनुसन्धानको पाटो निर्दिष्ट गर्छ र वास्तविक अपराधी नजिक पुग्न सहज बनाउन सक्छ ।
– श्यामसुन्दर कुइँकेल,हाँडीगाउँ, काठमाडौं

Page 7
विविधा

बलात्कारीको मनोबल

बलात्कारीलाई दण्ड–सजाय दिलाउन कति मुस्किल पर्नेरहेछ भन्ने उदाहरण निर्मला पन्तको घटना बनेको छ ।
- मधु राई

सञ्चार माध्यममा बलात्कारका समाचार बाक्लिएका छन् । यसले हाम्रो समाज बालिका, किशोरी मात्र नभएर वृद्धाका लागिसमेत असुरक्षित रहेछ भन्ने भान दिलाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई महिनादिन बित्दासमेत पहिचान गर्नसकेको छैन । यसले प्रहरी प्रशासनको न्यायिक संयन्त्र कतिसम्म फितलो रहेछ, उदाङ्गिएको छ । त्यस घटनाका दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन चलिरहँदा कञ्चनपुरमै बलात्कार भएका घटना पनि सार्वजनिक भइरहेकै छन् ।


कञ्चनपुरको घटना ढाकछोपमा प्रहरी प्रशासन लागेको देखिएको छ । त्यही कारण व्यक्तिको जीउज्यान र समाज सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी प्रशासन रक्षक होइन, भक्षकका रूपमा चौतर्फी आलोचित बनेको छ । कञ्चनपुरमा प्रहरीले नक्कली अभियुक्त खडा गर्दै अभियोग स्वीकार्न दबाब दियो । न्यायका लागि प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले गोली चलायो । त्यस क्रममा एकजना प्रदर्शनकारीले ज्यानै गयो । यो विषयलाई लिएर राजधानीबासीलाई समेत आन्दोलित बनायो । समृद्धि र विकासको सपना बाँड्दै आएको संघीय सरकार बलात्कारजस्तो जघन्य अपराधलाई ढाकछोप गर्ने प्रहरी प्रशासनको भर पर्दै लाचार बन्नु विडम्बनापूर्ण छ । बलात्कारका घटनामा दोषीलाई संरक्षण गर्न प्रहरी प्रशासन स्वयं र जनप्रतिनिधि लाग्ने गर्नाले पीडित पक्ष थप अन्यायमा पर्छन् । यसले बलात्कारीको
मनोबल बढाउँछ ।


प्रहरीको पछिल्लो तथ्यांक अनुसार मुलुकमा दैनिक तीनजना बलात्कृत भएका छन् । हाम्रा छोरीचेली ६० प्रतिशत आफन्तबाट, २० प्रतिशत छिमेकी र २० प्रतिशत बाहिरी व्यक्तिबाट बलात्कृत हुने गरेको पाइन्छ । कतिपय बलात्कारीले दण्ड–सजायसमेत भोगिरहेको समाचार जनसमक्ष आउने गरेका छन् । तर कतिपय घटनामा प्रहरी चुकेको पाइन्छ । कोही बलात्कारी फरारको सूचीमा देखिन्छन् । यसबारे सञ्चार माध्यमले अनुगमन, अनुसन्धनात्मक रिपोर्टिङ गर्नुपर्छ ।


नेपाली समाजमा बलात्कारजस्तो जघन्य अपराध किन बढिरहेको छ ? यस्ता घटना न्यूनीकरण गर्न नागरिक, प्रहरी प्रशासन, राजनीतिकर्मी तथा शिक्षासेवीको कस्तो भूमिका हुनुपर्ने हो भन्ने विषय सञ्चार माध्यमले उठाउनुपर्छ । बलात्कारी फरार भए वा ढिलो–चाँडो दण्ड–सजाय पाए पनि बलात्कृतहरूले के कस्तो न्याय पाए, उनीहरूले बाँकी जीवन निर्वाह कसरी गरिरहेका छन् भन्ने विषयमा समाचार विरलै आउने गरेका छन् । बलात्कृतले भोग्दै आएका शारीरिक र मानसिक पीडा कम गर्न वा मनोबल बढाउन नागरिक समाज अघि
सरेको देखिंँदैन ।


बलात्कारमुक्त समाज निर्माणका लागि राजनीतिकर्मीले के कस्तो भूमिका निर्वाह गर्ने भन्नेबारे राष्ट्रिय बहस हुनसकेको छैन । यस्ता घटनाको बढोत्तरी हुनुमा सबै पक्ष जिम्मेवार छन् । बलात्कार सम्बन्धी घटना सार्वजनिक भइसकेपछि पीडितलाई न्याय र पीडकलाई दण्ड–सजाय दिने काम सरकारको हो । घटना मिलापत्र गर्न स्वयं प्रहरी प्रशासन लागेका दृष्टान्त छन् । बलात्कारीलाई दण्ड–सजाय दिलाउन र बलात्कृतले न्याय पाउन कति मुस्किल पर्नेरहेछ भन्ने उदाहरण निर्मला पन्तको घटना बनेको छ ।


सरकारले समृद्धि र विकासको मूल फुटाउने उद्घोष गरेको छ । जनतालाई शान्ति र सुशासनको अनुभूति नदिलाई समृद्धि र विकासको कुरा गर्नु जनतालाई भुल्याउनु मात्र हो । बलात्कार जस्तो जघन्य अपराधका दोषीलाई जनसमक्ष ल्याउन जनप्रतिनिधिहरूले दबाब दिनुपर्ने हो, तर त्यस्तो देखिएन ।


जनप्रतिनिधिहरूको संवेदनशीलता र सहयोगी व्यवहारले बलात्कारमुक्त समाज निर्माण गर्न सकिन्छ । आफू निर्वाचित समाजमा शान्ति र सुशासन कायम गर्ने पहिलो कर्तव्य जनप्रतिनिधिको हो । उनीहरूले आफ्नो टोल वा वडामा शान्ति र सुशासन कायम गरी बलात्कारजस्तो जघन्य अपराध न्यूनीकरण निम्ति सरोकारवालासँग समन्वय र सहकार्य गर्न सक्छन् । टोल, वडा र नगरलाई महिलामैत्री बनाउने कार्यक्रम ल्याउन सक्छन् ।

विविधा

स्मार्ट सहरमा चौतारी

लाग्छ, सहरका चौतारी वृक्षहरू वन्यजीवका लागि चौबीस घन्टे सिटीमल हुन् ।
- पुष्पराज आचार्य

प्रदेश ४ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले वरपीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्ने विधेयक २०७५ सुझावका लागि समर्वजनिक गरेको छ । उता पोखरा महानगरपालिकाले ‘स्मार्ट सिटी’ बनाउन सडक चौडा पार्ने क्रममा बाटोमा परेका चौतारी हटाउन खोज्यो । चौतारी र पर्यावरणप्रेमीले विरोध गरे । जिल्ला अदालतमा मुद्दासमेत दायर भयो । पोखराका मेयर मानबहादुर जीसीले अनौपचारिक भेटमा मसँग भने, ‘हामी चौतारी विरोधी होइनौं, तर सडक व्यवस्थित नगरी हुँदैन । हावाहुरी र चट्याङले चौतारीमा रुखका हाँगा भाँचिएर जीउधनको क्षति भयो भने महानगरलाई दोष आउँछ । बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापन जटिल बन्छ ।’


चौतारीहरू मौलिक संस्कृति हुन् । यिनका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, वातावरणीय महत्त्व हुन्छ । चौतारी निर्माणका अनेक किंवदन्ती छन् । कतिपय चौतारी बाटो चिन्नका लागि संकेतका रूपमा राज्य विस्तार गर्न हिँडेका सेनाले बनाएका हुन् भनिन्छ । कतै बिहेबारीमा वरपीपल तथा समीका रुख प्रयोग गर्न चौतारी बनाइएको भनीन्छ । कतिपय चौतारी धर्म आर्जन गर्न बनाइएका हुन् भन्ने पनि छन् । राज्यलाई गुन लगाएबापत विर्ता या गुठी स्थापना गरी मठमन्दिर तथा चौतारी बनाउने प्रचलन रहेको इतिहासमा पढ्न पाइन्छ । बाटोमा थकाइ लाग्दा, गर्मी हुँदा एकछिन सुस्ताउँदै संगीहरूसँग भलाकुसारी गर्न, असिनापानी चल्दा ओत लाग्न हाम्रा पुर्खाले चौतारी बनाए । उनीहरूले चौतारीसँगै ठाँटी र पोखरी बनाए । मन हुनेहरूले आर्थिक दान, श्रमदान गरे । कतिले पितापुर्खाका, कोहीले बिहे गरेको जोडीका, कसैले आफ्नै नाममा सफा चित्तले बनाएका धरोहर हुन्, चौतारी ।


बाटोमा घामपानीबाट बच्न, भारी बिसाइ थकान मेटाउन छहारी प्रदान गर्ने रुखको खोजी भएको हुनुपर्छ । रोजाइमा वरपीपल परे । मानिसले काटेर नष्ट नगरुन् भनी चौतारी वृक्षहरूलाई धर्मशास्त्रमा जोडिएको पो हो कि ? वनस्पतिमा चौतारी वृक्षलाई सर्वश्रेष्ठ मानिन्छ । चौतारी वृक्षमा धार्मिक विश्वास जोडिएपछि मानिसले पुण्य प्राप्ति वा नामका लागिसमेत चौतारी निर्माण गर्न थालेको हुनुपर्छ । हिन्दु र बौद्ध धर्मसँग जोडिएका चौताराहरू सांस्कृतिक पहिचान हुन् । चौतारी वृक्षका रूपमा मुख्यत: पीपल, वर, खरी, काब्रो, सिमल, लाँकुरी, चाँप, आँप, जामुनजस्ता वृक्ष प्रयोग भएको देखिन्छ । अग्ला, छहारीयुक्त र फलफूल उत्पादन गर्ने यी वृक्ष सहर–बजारको पर्यावरणमा महत्त्वपूर्ण छन् । चौतारीले सहरमा सुन्दरता थपेका छन् । अन्तर्राष्ट्रिय स्तरमै ग्रिन सिटीको अवधारणा आएको छ । हामीले चौतारीको वैज्ञानिक र व्यावहारिक व्यवस्थापन गर्न आवश्यक छ ।


चौतारी वृक्षहरू मानिसका लागिमात्र नभएर चराचुरुङ्गी लगायतका जीवका लागिसमेत बास बस्ने थलो भएका छन् । सहरका चौतारी ‘वाइल्ड लाइफ सेन्टर’ हुन् । बिहान, दिउँसो र साँझ चौतारीमा बसेर दृश्यावलोकन गर्‍यो भने तिनमा आश्रित जीवजन्तुबारे जान्न सकिन्छ । काठमाडौंको लैनचौर छेउमा बसेर मैले हेर्दा काग, बकुल्ला, फलहारी चमेरा, लोखर्के, सुगा, भँगेरा लगायतको अन्तरक्रिया, प्रतिस्पर्धा र कोलाहल सुनेको थिएँ । चमेरा दिनभरि बास बसेर विचरणमा निस्किँदै गर्दा दिनभरको विचरण पूरा गरी बास बस्न आउने बकुल्ला र कागको कोलाहल हरेक साँझ सुनिन्छ । लाग्छ, सहरका चौतारी वृक्षहरू वन्यजीवका लागि चौबीस घन्टे सिटीमल हुन् ।


जाडोमा चिसो छल्न पहाडबाट तराई झरेको चराचुरुङ्गी बास बस्ने या आराम गर्ने रुख भनेकै चौतारी वृक्ष हुन् । नेपालको तराई इलाकामा साइबेरियादेखि चिसो छल्न आउने चरासमेत यिनै चौतारीमा बास बस्छन् । पहाडी इलाकामा कतिपय बसाइँ–सराइ गर्ने चराचुरुङ्गी यिनै चौतारी वृक्ष पछ्याउँदै बाटो पहिल्याउँछन् । पर्यावरण शास्त्रमा उड्ने जीवको विचरण संकेतका रूपमा प्रयोग हुने यी चौतारीलाई ‘स्टेपिङ स्टप’का रूपमा व्याख्या गरिन्छ । वरपीपल जस्ता कतिपय चौतारी वृक्षका फल जीवका आहार हुन् ।


हरेक स्थानीय सरकारले चौतारीको अभिलेख राख्न जरुरी छ । मन्दिरका चौतारी मानवीय अतिक्रमणबाट सुरक्षित छन् । उमेरका कारण वृक्ष मर्ने अवस्थामा भए नयाँ रोप्नुपर्छ । चौतारी नष्ट हुनबाट जोगाइ सामाजिक हितमा प्रयोग गर्न सकिन्छ । चौतारीसँगै सार्वजनिक जमिन उपलव्ध भए व्यायाम पार्क बनाउन सकिन्छ । त्यसले नागरिकको स्वास्थ्यमा सहयोग पुग्छ । चौतारी आसपास पब्लिक पार्क निर्माणका लागि दातालाई आह्वान गर्न सकिन्छ । नेपालका प्राय: सहरमा पब्लिक पार्क बनाउने ठाउँ अभाव देखिन्छ । साना–ठूला पार्क यत्रतत्र बनाइनुपर्छ । यस्ता पार्कमा बालबालिका खेल्ने र वृद्धवृद्धा भेला हुने, युवाले शारीरिक व्यायाम गर्ने अवसर पाउँछन् । काठमाडौंमा बाटो छेउका प्राय: चौतारीहरूलाई बिजुलीका तारहरूले छोएको देखिन्छ । चौतारी आसपास विद्युत लाइन भए सतर्कता अपनाउनुपर्छ ।


चौतारीप्रतिको आस्था जीवित राख्दै यसबाट समय–सापेक्ष लाभ लिन सक्नुपर्छ । सडक छेउछाउका चौतारी सकेसम्म जोगाउनुपर्छ । कतिपय चौतारीलाई बस स्टपका रूपमा कायम राख्न सकिन्छ । नगरले पुराना वृक्ष काट्नु अगाडि तिनको ऐतिहासिक पृष्ठभूमि पत्ता लगाई अभिलेख राख्न आवश्यक हुन्छ । वनस्पति विज्ञानमा रुखहरूको उमेर र विगतको वातावरणीय चक्रबारे अध्ययन गर्न सकिने प्रविधि विकास गरिएको छ । रुख कटान गर्नु अगाडि वैज्ञानिकहरूलाई खबर दिनसके वनस्पतिको उमेर पत्ता लगाउन सकिन्छ ।


तीव्र सहरीकरणको प्रभाव, जमिनको चरम मूल्यवृद्धिका कारण चौतारी वृक्ष हटाई घडेरी बनाउने काम बढेको छ । आर्थिक लाभमा परी पितापुर्खाले बनाएका चौतारी भत्काएरै भए पनि जग्गा बिक्री गरिएका छन् । कतिपय चौतारी मूल जग्गाधनीबाट जग्गा प्लटिङ गर्ने व्यापारीका हातमा गएपछि भत्काइए । विकासका लागि बाटो विस्तार गर्ने क्रममा डोजर लगाइए । यो प्रक्रिया दिनानुदिन बढ्ने देखिएको छ । हरेक नेपालीको बाल्यकालको स्मृति कुनै न कुनै चौतारीसँग जोडिएको हुन्छ । धेरैले चौतारी चढेरै रुख चढ्न सिकेका छौं । उकालो, गोरेटोमा वरपीपलको चौतारी, छेवैमा पोखरी र पानी पिउने कलधारा पहाडी यात्राका स्मृति हुन् । सहरमा यिनै चौतारी प्रयोग गरेर बालबालिकालाई पर्यावरणीय शास्त्रको ज्ञान दिन सकिन्छ ।
लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिक हुन् ।

[email protected]

विविधा

वर्ण–व्यवस्था मलजल गर्ने शिक्षा

जातका आधारमा गरिने भेदभाव नेपाली समाजको प्रमुख समस्या हो । यो विषयलाई त्यसरी नै प्रस्तुत गरिनुपर्छ ।
- प्रकाश विक

दैलेखको तीजडाँडा चामुण्डास्थित हिमालय आधारभूत विद्यालयका कक्षा ६ र ७ का गैरदलित विद्यार्थीले ‘दलितले पकाएको खाजा खाँदैनौँ’ भने । विद्यालय प्रशासन केही समय बन्द भयो । झापाको भद्रपुरस्थित ‘श्री कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रम’को प्रशासनले इलाम ५ का विकास कार्कर्ी ढोलीलाई दलित भएकै कारण भर्ना लिएन । यी दुई घटना मिडियामा आएका हुन् । मिडियाले नदेखेका जातीय भेदभाव तथा छुवाछूतका कैयौं घटना दलित विद्यार्थीले भोग्दै आउनुपरेको छ । शिक्षा प्रणाली हिन्दु पौराणिक मूल्य–मान्यताबाट निर्दिष्ट हुँदै आएकाले कतै यस्ता घटना हुँदै आएका त होइनन् ? शंका उब्जाएको छ । समाजमा जातीय अपराधका घटना किन हुन्छन् ? प्राय: सबैको एउटै जवाफ आउने गर्छ– अशिक्षा कारणले । तर त्यस्तो होइन । छुवाछूत गर्ने समुदाय खासमा बाहुन/क्षत्री हुन् । उनीहरूले आफूलाई स्वघोषित शिक्षित ठान्छन् । छुवाछूत भोग्ने समुदाय अशिक्षित भएकाले हो ? त्यसो त होइन । छुवाछूत शिक्षितले गर्ने व्यवहार अपराध हो ? यो पनि होइन ।


छुवाछूतको मूल स्रोतबारे धेरै अध्येताको निष्कर्ष हिन्दु वर्ण–व्यवस्था हो भन्ने छ । माथिका उदाहरण पनि यही धार्मिक व्यवस्थाका परिणाम हुन् । छुवाछूत उन्मूलन गर्ने धेरै उपायमध्ये शिक्षा प्रणाली एक हो । तर नेपालको शिक्षा प्रणालीले जातीय छुवाछूतको मुख्य स्रोतबारे अध्ययन, अध्यापन गराउँदैन । बरु पाठ्य सामग्रीले विद्यार्थीलाई अप्रत्यक्ष रूपमा जातीय भेदभाव तथा छुवाछूत गर्न प्रोत्साहन गरिरहेको देखिन्छ । यसै कारण नेपालमा जातीय भेदभाव तथा छुवाछूत जब्बर रूपमा छ । यसले बाहुन/क्षत्री समुदायलाई शक्तिमा रहन टेवा पुर्‍याएको छ ।


वर्ण–व्यवस्थाबारे मौन पाठ्यक्रम
मानव समाजको विभिन्न पक्षको वैज्ञानिक ढङ्गले अध्ययन गर्ने विषय हो, सामाजिक अध्ययन । केदारभक्त माथेमा भन्छन्, ‘सामाजिक शिक्षा असल नागरिक तयार पार्ने विषय हो । यो विषयमा आफ्नो परिवार, धर्म–संस्कृति, जातजाति, समाज, राज्यव्यवस्था आदिबारे अध्ययन गराइन्छ ।’ तर विद्यालयको सामाजिक अध्ययन विषयको पाठ्यक्रममा नेपाली समाजको वास्तविक तस्बीर भेट्टाउन मुस्किल छ । नेपाली समाज बुझ्न हिन्दु वर्ण–व्यवस्थाबारे बुझ्नु अनिवार्य छ । तर सामाजिक अध्ययन विषयमा यसबारे पाठ्यक्रम छैन । यथार्थ झल्काउने पाठ्यक्रम नभएपछि विद्यार्थीले आफ्नो समाजबारे के बुझ्छन् ? यिनले भविष्यमा कसरी समाज विकासमा टेवा पुर्‍याउलान् ? यी गम्भीर प्रश्न हुन् । सामाजिक अध्ययन विषयमा हिन्दु समाजको नकारात्मक धार्मिक तथा सामाजिक मूल्य–मान्यता, खराब चलन, आपराधिक प्रथा र संस्कृतिबारे गहिराइमा पुगेर व्याख्या गरिएको छैन, ढाकछोप गरिएको छ । एकथरीलाई म ठूलो हुँ भन्ने आत्मरति र अर्कोथरीलाई म सानो हुँ भन्ने हीनभावना विकास गराएको छ । यो समाजमा मानव भएर जिउन असफल पारिएका दलित समुदायमाथि अर्को विभेद हो ।


दलित समुदायले विगतका शैक्षिक पाठ्यक्रममा असन्तुष्टि व्यक्त गरेपछि केही सवाल हालसालैको पाठ्यक्रममा समावेश गरिएको छ । यो कार्यलाई प्रगतिशील कामका रूपमा लिन सकिएला । तर, सामाजिक अध्ययन विषयको पाठ्यक्रमले दलितका मुद्दालाई सही ढंगले प्रस्तुत गर्न अझै सकेको छैन ।


कक्षा ३ को सामाजिक अध्ययन विषयको पाठ ३ मा छुवाछूत हटाउनेबारे कथा छ । कथा एक बाहुनले विपत्पश्चात् मुसहरको घरमा बास बसेको र उसैले छोएको खाएको बारे छ । तर समाजमा बाहुन र मुसहर को हुन् ? उनीहरूको सामाजिक स्थिति कस्तो छ ? यस्तो सामाजिक अवस्थाको जड के हो ? एकले अर्कोले छोएको नखानुको कारण के हो ? कथा केही बोल्दैन । छुवाछूतको मुख्य स्रोत के हो ? कतै उल्लेख छैन । ‘छुवाछूत खानपिनमा मात्र त हो नि’ भनेजसरी प्रस्तुत गरिएको छ । यसै पाठको क्रियाकलापमा ‘छुवाछूत सामाजिक अपराध हो’ भनिएको छ । यसलाई अन्य अपराधलाई सजायको आधारमा विभाजन गरेजस्तै सामान्य, गम्भीर र जघन्य अपराधमध्ये एक हो भनेको भए सार्थक हुन्थ्यो । बलात्कार, मानव बेचबिखनलाई नेपालको कानुनले गम्भीर र जघन्य अपराधको सूचीमा राखेको छ ।


कक्षा १० को सामाजिक अध्ययन विषयको एकाइ ४ को पाठ ‘घरेलु हिंसा र छुवाछूत’मा ‘जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभावलाई छुवाछूत भनिन्छ’ भनिएको छ । यो परिभाषा गलत छ । भेदभाव र छुवाछूतको अर्थ फरक छ । भेदभाव हँुदैमा छुवाछूत हँुदैन, तर छुवाछूत हुँदा भेदभावसहित अन्य धेरै कुरा हुन सक्छन् । उदाहरणका लागि दुर्गम क्षेत्रबाट आएका कुनै एक तथाकथित ‘उच्च जात’का व्यक्तिलाई काठमाडौंमा सुगम क्षेत्रबाट आएका व्यक्तिले भेदभाव गर्न सक्छन्, तर त्यो छुवाछूत हँुदैन । नेपाली समाजमा छुवाछूत हुने जातको कारणले हो । यो कुरा पाठ्यक्रमले खुला रूपमा भन्न सक्नुपथ्र्यो ।


कक्षा १ देखि १० सम्म पढाइने सामाजिक अध्ययन विषयको ‘हाम्रो सामाजिक मूल्य र मान्यता’ एकाइमा यस्ता पाठ राखिएका छन्, जसमा ‘नेपाल सयौं जातजाति मिलेर बसेको साझा फूलबारी हो, एकले अर्काको सम्मान गर्छन् र धार्मिक सहिष्णुता छ’ लेखिएको छ । जातका आधारमा गरिएको कामको बाँडफाँड वैज्ञानिक छ, यसैले समाज चलेको छ, जातका आधारमा पेसा हँुदैनथ्यो भने समाज अशान्त हुन्थ्यो भन्ने भाव पाठ्यक्रमले दिन्छ । यही समाजमा जातको आधारमा हुने छुवाछूतका कारण कैयौं दलितले ज्यान गुमाउनुपरेको, शारीरिक र मानसिक हिंसा भोग्नुपरेको कुरा उल्लेख छैन ।


सामाजिक अध्ययन विषयमा समाज बुझ्न केही महत्त्वपूर्ण एकाइ राखिएका छन् । जस्तै– हाम्रो सामाजिक मूल्य र मान्यता, सामाजिक समस्या र समाधान, नागरिक चेतना र हामी र हाम्रो समाज आदि । तर यी एकाइ अनुसार राखिएका पाठले नेपाली समाजको यथार्थ झल्काउँदैनन् । यो विषयको पाठ्यक्रममाथि सरसर्ती अध्ययन गर्दा लाग्छ– नेपालमा जातीय समस्या ठूलो विषय होइन । जातको आधारमा गरिने भेदभाव नेपाली समाजको प्रमुख समस्या हो र यो विषयलाई त्यसरी नै प्रस्तुत गरिनुपर्छ । पाठ्यक्रम मस्यौदा लेखन/परिमार्जन कार्यदल, लेखक छनोट कार्यदल आदिमा एउटा पनि दलित समुदायका व्यक्ति छैनन् । दलितमैत्री पाठ्यक्रम नहुनुको खास कारण यही हो । जातीय विभेद तथा छुवाछूतलाई शैक्षिक संस्था (विद्यालय) ले समेत यो वा त्यो बहानामा लुकाउँदै आएका छन् । काठमाडौंका केही विद्यालयमा विद्यार्थीको जात सार्वजनिक गर्न लगाइँदैन भन्ने कुरा एक पत्रकारले सुनाएका थिए । ढाकछोप गरेर कसरी सामाजिक शिक्षाजस्तो विषय पढाउनसके होलान् ? विद्यार्थीले समाजबारे के बुझे होलान् ? कक्षामा शिक्षकले छुवाछूतबारे के उदाहरण दिएर पढाए होलान् ?

 

नीति अभाव
व्यक्तिले सामाजिक मूल्य, मान्यता, सिद्धान्त र विचार घर हँुदै समाजबाट सिक्ने हो । उसले समाजमा आफ्नो कुन स्थान छ र आफूले अरूसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा सामाजिकीकरणबाट सिक्छन् । यसबाट जे सिके, त्यस्तै व्यवहार यिनले विद्यालयमा देखाउँछन् । यस्तो सामाजिकीकरण रोक्न शैक्षिक प्रणालीमा भेदभाव तथा छुवाछूत विरुद्ध नीति तत्काल लागु गर्नुपर्ने देखिन्छ । विद्यालयमा कुनै व्यक्ति पढ्ने, पढाउने वा जागिर खाने सिलसिलामा ‘कुनै प्रकारको विभेद गर्ने छैन’ भनी हस्ताक्षर गराएर सम्झौता गर्ने अभ्यास कतिपय देशमा छ । कसैले विभेद गरिहाले त्यही अनुसार दण्ड जरिवानाको व्यवस्था हुन्छ । नेपालको शैक्षिक प्रणालीले यस्तो किसिमको नीति लागु गरे समाजमा चेतना ल्याउनमा सहयोग गर्न सक्छ । विद्यार्थीले आफ्नो विद्यालयमा लागु गरिएको यस्तो नियमबारे घर–समाजमा बताउँछ ।

 

शक्तिमा रहने औजार
फ्रान्सका माक्र्सवादी दार्शनिक लुइस अल्थुसर ‘इडियोलोजी एन्ड इडियोलोजिकल स्टेट अपारटस’मा पँुजीपति वर्गलाई शक्तिमा रहन शैक्षिक संस्थाले कसरी मद्दत गर्छ भन्नेबारे उल्लेख गरेका छन् । उनी दमनकारी र वैचारिक दुई प्रकारका राज्य संस्थाबारे चर्चा गर्छन् । दमनकारी राज्य संस्थामा प्रहरी प्रशासन, सेना, अदालत आदि पर्छन् । वैचारिक राज्य संस्थामा विद्यालय, चर्च, ट्रेड युनियन, नागरिक समाज आदि पर्छन् । दुवै खाले संस्थाले पुँजीपति वर्गलाई सधैं शक्तिमा रहन मद्दत गर्छन् । उनका अनुसार पुँजीपति वर्गले सधंै शक्तिमा रहन वैचारिक राज्य संस्थाको प्रणालीद्वारा मानिसका विचार, मूल्य, मान्यता र विश्वासमाथि नियन्त्रण गर्छ । शैक्षिक प्रणालीले वर्गीय असमानतालाई एक पिढीबाट अर्को पिढीसम्म हस्तान्तरण गर्दै पुनरुत्पादन गर्न सहयोग गर्छ । शिक्षाले सत्य–तथ्य लुकाउँदै वर्गीय असमानतालाई वैधानिकता पनि दिन्छ । गरिबहरू असमानता आवश्यक छ भन्ने हदसम्म पुग्छन् र उनीहरू आफैले आफ्नो अधीनस्थ अवस्था स्वीकार्छन् । यस अवधारणा नेपालको शैक्षिक प्रणालीसँग ठ्याकै मेल खान्छ । यसमा वर्गको ठाउँमा जात राखेर बुुझ्न सकिन्छ । दलित समुदाय यति धेरै उत्पीडन, दमन र शोषणका बाबजुद पनि अधीनस्थको स्थिति स्वीकार्छन् । यो प्रवृत्ति शासन सत्तामा रहने सवर्ण जातको जुक्ति बाहेक अरू के हुनसक्छ ?
लेखक अनुसन्धानकर्ता हुन् ।

Page 8
समाचार

किशोरी हत्या प्रकरण: कांग्रेसले रोक्यो संसद् बैठक

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । एक सातापछि बिहीबार बैठक सुरु भएलगत्तै कांग्रेस सांसदले विरोध जनाएका हुन् ।


सांसद दिलेन्द्रप्रसाद बडुले पन्तले राज्य संयन्त्रले घटना ढाकछोप गरेको आरोप लगाए । ‘यो घटना हरेक दिन नाटकीय रूपमा जटिल र रहस्यमय हुँदै गएको छ । अनुसन्धान टोली एकपछि अर्को गर्दै परिवर्तन भइरहेको छ । प्रहरी वास्तविक अपराधीसम्म पुग्न सकेको छैन,’ उनले भने, ‘दोषी पत्ता लगाउनेभन्दा पनि राज्य संयन्त्र नै ढाकछोप गर्न लागेको छ ।’


गृह मन्त्रालयले बनाएको छानबिन समिति सदस्य वीरेन्द्र केसीले अनुसन्धानको विश्वसनीयतामा प्रश्न उठाउँदै राजीनामा गरेपछि यो प्रकरण झन् शंकास्पद भएको उनले बताए । ‘केसीले सुरक्षाका लागि राष्ट्रसंघ गुहार्नुपर्ने अवस्था किन र कसरी आयो ? उनले भनेको शक्तिशाली व्यक्ति को हुन् ?’ वडुले भने, ‘राज्य संयन्त्र कसले चलाएको छ ?’


कांग्रेसले तरुण दलका कार्यकर्ता रोहित पुनको हत्यारा पक्राउ नगरिएको र ‘खोजतलास’ का प्रधान सम्पादक राजु बस्नेतलाई गिरफ्तार गरिएका विषयमा पनि विरोध जनाएको छ । बस्नेतको पक्राउ प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको कांग्रेसको ठहर छ । कांग्रेसले उठाएको विषयको जवाफ नदिएको भन्दै सांसदहरूले आफ्नै सिटमा उभिएर बैठक अवरुद्ध गरेका थिए ।


सभामुख कृष्णबहादुर महराले बारम्बार सांसदहरूलाई बस्न आग्रह गरेका थिए । ‘सरकारले उपयुक्त समयमा जवाफ दिनेछ । अहिलेको अहिले जवाफ खोज्नु उपयुक्त नहोला । माननीय सदस्यहरू बुझ्नुस् । सरकारको ध्यानाकर्षण गराएको छु,’ उनले भने । त्यसपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरे पनि आधा घण्टासम्मै बस्न सकेन । कानुनमन्त्री भानुभक्त ढकालले शुक्रबारको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने भनेपछि दोस्रो बैठक नियमित कार्यसूचीअनुसार अघि बढेको थियो । बिहीबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए ।


‘हत्यारा प्रहरीकै संरक्षणमा’
बैठकमा शून्य समयमा बोल्ने सत्तापक्ष र विपक्षी सांसदहरूले पनि हत्यामा संलग्नलाई प्रहरीले संरक्षण गरेको आरोप लगाएका छन् । कांग्रेस सांसद सीतादेवी यादवले भनिन्, ‘हत्यारा लुकाउने प्रहरी रक्षक हुन्छ ? घटनाको प्रमाण नष्ट गर्न लागिपरेको छ । अब यो देश कहाँ जान्छ ?’ सदनमा दुई महिनादेखि यस विषयमा कुरा उठिरहे पनि सरकारले अपराधी लुकाउने कोसिस गरेको यादवले आरोप लगाइन् । ‘जबसम्म महिलाको सुरक्षा हुँदैन, तबसम्म देशको सुरक्षा हुन सक्दैन,’ उनले भनिन् ।


अर्का सांसद सञ्जय गौतमले बलात्कार र हत्या घटना बढेकाले मुलुकमा सरकार भएको अनुभूति हुन नसकेको बताए । ‘सुशासनको अनुभूति हुन सकेन,’ उनले भने, ‘अपराध संरक्षण, प्रमाण नष्ट गर्ने पनि अपराधी नै हुन् । त्यसैले यस्तालाई पनि कानुनी कठघरामा ल्याउनुपर्छ ।’ सांसद हीरा गुरुङले पनि प्रहरीले दोषीलाई संरक्षण गरेको आरोप लगाइन् ।
नेकपाकी शान्ता चौधरीले अपराध गर्नेले छुट नपाउने सन्देश दिन पनि अपराधीलाई कठघरामा ल्याउनुपर्ने बताइन् । अपराधी पत्ता लगाउन छुट्टै दस्ता बनाउनुपर्ने उनको माग छ ।

समाचार

मलेसियामा भिसाको नयाँ नियम

- कान्तिपुर संवाददाता

क्वालालम्पुर (कास)– मलेसियाले विदेशी कामदारको भिसा नवीकरणसम्बन्धी प्रावधान हेरफेर गरेको छ । मानव संसाधनमन्त्री एम कुला सेगरनका अनुसार विदेशी कामदारको अस्थायी रोजगार अनुमति (पीएलकेस) भिसा १० वर्षभन्दा बढी अवधिपछि नवीकरण नहुने प्रावधानमाथि हेरफेर गर्दै थप ३ वर्षसम्म भिसा थप्न सकिने निर्णय भएको छ ।


उनका अनुसार विदेशी कामदारको दक्षतालाई ख्याल गर्दै अगस्ट २९ मा मन्त्रिपरिषद्बाट भिसा नवीकरणसम्बन्धी उक्त नयाँ निर्णय गरिएको हो । उक्त निर्णय अक्टोबर १ देखि लागू हुने जनाइएको छ ।


‘अब १० वर्षसम्म भिसा नवीकरण गरेकाले थप तीन वर्षसम्म हरेक वर्ष नवीकरण गरी काम गर्न पाउनेछन्,’ मन्त्री कुला सेगरनले भने, ‘भिसा नवीकरणको अनुमति बढीमा ३ वर्षसम्मका लागि मात्र हो र उनीहरूले हरेक वर्ष नवीकरण गर्नुपर्छ । यसले दक्षता भएका कामदारलाई अड्याउन रोजगारदातालाई मद्दत गर्छ ।’ यो नयाँ प्रावधान पूर्ण रूपमा लागू भएमा १० वर्षसम्म भिसा नवीकरण गरिसकेपछि म्याद गुज्रन लागेका (आउटसोर्सिङ र रोक्का भएका क्षेत्रमा कार्यरतबाहेक) उत्पादन, निर्माण, कृषि, प्लान्टेसन, सेवालगायत क्षेत्रमा कार्यरत हजारौं नेपालीसहित विदेशी कामदार लाभान्वित हुनेछन् ।

Page 9
विदेश

‘पत्रकारलाई जेल सजाय उचित’

- कान्तिपुर संवाददाता
म्यान्मारकी राज्य सल्लाहकार तथा नोबेल पुरस्कार विजेता आङ सान सुकी बिहीबार भियतनामका राष्ट्रपति ट्रान डाई कुआङसँग भेटवार्ता गर्दै । तस्बिर : रोयटर्स

हनोई/यांगुन (रोयटर्स)– म्यान्मारकी राज्य सल्लाहकार तथा नोबेल पुरस्कार विजेता आङ सान सुकीले म्यान्मारमा हालै दुई पत्रकारलाई दिइएको जेल सजायको प्रतिरक्षा गरेकी छन् । 

म्यान्मारको एक अदालतले गतसाता बेलायती समाचार संस्था रोयटर्सका २ पत्रकारलाई ७ वर्षको कारावास सजाय सुनाएको थियो । उक्त कदम म्यान्मारमा लोकतन्त्र तथा प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै अन्तर्राष्ट्रियस्तरमा भत्र्सना हुँदै आएको छ ।
‘उनीहरूलाई पत्रकार भएका कारण सजाय दिइएको होइन,’ उनले भनिन्, ‘उनीहरूले लिखतहरूको गोप्यतासम्बन्धी कानुन उल्लंघन गरेकोमा सजाय पाएका हुन् ।’ उनले पत्रकारहरूसँग मुद्दाको पुनरावलोकनको अधिकार रहेको समेत उल्लेख गरिन् ।


सुकीले पत्रकारद्वय वा लोन र क्याब सो ओले लिखतहरूको गोप्यतासम्बन्धी ऐनको उल्लंघन गरी गोप्य कागजात संकलन गरेको दाबी गर्दै उनीहरूलाई दिइएको सजाय जायज भएको जनाइन् । बिहीबार भियतनामा आयोजित ‘बल्र्ड इकोनोमिक फोरम’ को सम्मेलनका क्रममा सुकीले ‘अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सले कानुनको उल्लंघन गरेको’ धारणा राखिन् ।


पत्रकारलाई सजाय सुनाइएपछि पहिलो पटक मुख खोलेकी सुकीले रोहिंग्यामाथिको हिंसाबारे अनुसन्धान गर्ने क्रममा उनीहरूले गोपनीयतासम्बन्धी ऐनको उल्लंघन गरेको अदालतले ठहर गरेको थियो । यांगुनको उत्तरी जिल्लास्थित एक अदालतका न्यायाधीश ये लेविनले पत्रकारद्वय लोन र सो ओले ‘लिखतहरूको गोप्यतासम्बन्धी ऐनको उल्लंघन गरी गोप्य कागजात संकलन’ गरेको प्रमाणित भएको जनाउँदै उक्त फैसला गरेका थिए । रोयटर्ससका लागि काम गर्दै आएका दुवै पत्रकार म्यान्मारका नागरिक हुन् । फैसला सुनाएका न्यायाधीशले दुवै पत्रकारले राज्यको हितमा असर पुर्‍याउने कार्य गरेको दाबी गरेका थिए । न्यायाधीशले ‘त्यसकारण उनीहरू राज्यको गोप्यतासम्बन्धी कानुनअनुसार दोषी ठहरिएको’ जनाएका थिए । पत्रकारद्वयलाई प्रहरी अधिकारीले दिएका दस्तावेज लिइरहेका बेला पक्राउ गरिएको थियो । उनीहरूले आफूहरू निर्दोष भएको दाबी गर्दै प्रहरीले फसाएको बताएका छन् । ३२ वर्षीय वा लोन र २८ वर्षीय क्याब सोए उत्तर राखिने राज्यमा पर्ने गाउँमा सेनाले १० जना पुरुषको हत्या गरेकोबारे प्रमाण संकलन गरिरहेका थिए । म्यान्मारको राखिने राज्यमा सरकारी सेनाले गरेको रोहिंग्या समुदाय लक्षित १२ महिना लामो कारबाहीमा १० हजारभन्दा बढीको ज्यान गएको थियो । हिंसापछि ७ लाखभन्दा बढी रोहिंग्या शरणार्थी विस्थापित भइसकेका छन् ।


सन् २०१७ मा राष्ट्रसंघले गठन गरेको नियोगले दुई साता अघि बुझाएको प्रतिवेदनमा म्यान्मारको सैनिक नेतृत्वविरुद्ध मुद्दा चलाउनुपर्ने जनाएको थियो । प्रतिवेदनमा ‘म्यान्मारको सैनिक नेतृत्वविरुद्ध अनुसन्धान र अभियोगका लागि पर्याप्त सूचना भएको’ उल्लेख गरिएको थियो ।


राष्ट्रसंघीय टोलीले ८ सय ७५ जनासँग गरेको अन्तर्वार्ता तथा भूउपग्रह तस्बिर र प्रमाणित कागजातका आधारमा अनुसन्धान प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदनमा विभिन्न ६ उच्च सैनिक नेतृत्वमाथि नरसंहारमा मुद्दा लगाउनुपर्ने जनाएको थियो ।


राष्ट्रसंघले रोहिंग्यामाथिको नरसंहार रोक्न असफल रहेको भन्दै नोबेल पुरस्कार विजेता तथा म्यान्मारका राज्य सल्लाहकार आङ सान सुकीको कडा आलोचना गर्दै राजीनामा दिनुपर्नेसमेत माग गरेको छ ।


यसअघि पत्रकारद्वयलाई बिनासर्त रिहा गर्न राष्ट्रसंघ तथा बेलायतले आग्रह गरेका थिए । वा लोन र क्याब सो ओलाई बिनासर्त रिहा गरी पुन: काममा फर्कने वातावरण मिलाउन राष्ट्रसंघले म्यान्मार सरकारलाई आग्रह गरेको हो । बेलायत सरकार पनि ‘उनीहरूमाथिको कारबाही प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन गरेको’ जनाउँदै उनीहरूलाई तुरुन्त रिहा गर्न माग गरेको हो ।

विदेश

कंग्रेस असफल प्रतिपक्ष : मोदी

- कान्तिपुर संवाददाता

नयाँदिल्ली (एजेन्सी)– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसको कडा आलोचना गरेका छन् । बिहीबार निकै आक्रामक रूपमा प्रस्तुत भएका मोदीले कंग्रेसले प्रतिपक्षी दलका रूपमा राम्रो भूमिका निर्वाह नगरेको आरोप लगाए । भारतीय जनता पार्टी (भाजपा) कार्यकर्तालाई बिहीबार सम्बोधन गर्दै उनले विगत ४ वर्ष प्रतिपक्षको भूमिकामा कंग्रेस अयोग्य भएको दाबी गरे । मोदीले कंग्रेसले आफ्नो कार्यकालमा राम्रा काम गर्न नसकेको बताए । उनले भने, ‘त्यसकारण अहिले भइरहेका राम्रा कामको पनि अनावश्यक आलोचना गरिरहेको छ ।’


भारतका राजनीतिक प्रतिस्पर्धी दलहरू भाजपा र भारतीय कंग्रेसका नेताहरू हालैका दिन एकअर्काप्रति आक्रामक हुने गरेका छन् ।

 

विदेश

अमेरिकी वार्ता प्रस्ताव चीनद्वारा स्वागत

- कान्तिपुर संवाददाता

बेइजिङ (एएफपी)– केही समयदेखि अमेरिका र चीनबीच जारी व्यापार युद्ध अन्त्य गर्न अमेरिकाले राखेको वार्ता प्रस्तावको चीनले स्वागत गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाबीचको विवादले व्यापार युद्धकै रूप लिने अनुमानबीच अमेरिकाले वार्ता प्रस्ताव गरेको हो ।


महिनौंदेखि चीन र अमेरिकाले एकअर्काविरुद्ध प्रतिशोध स्वरूप करवृद्धिको घोषणा गर्दै आएका छन् । तर बुधबार अमेरिकी अर्थमन्त्री स्टिभेन मुन्चिनले व्यापार विवादका विषयमा छलफल गर्न उच्च चिनियाँ अधिकारीलाई वासिङ्टन आउन निम्तो दिएका थिए ।


‘चिनियाँ पक्षको के विश्वास छ भने व्यापारिक विवाद बढ्दै गएमा त्यो कुनै पनि पक्षको हितमा हुने छैन,’ बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले भने । ‘बेइजिङले पाएको अमेरिकाको निम्तोलाई हामीले स्वागत गरेका छौं,’ उनले भने । फेङले दुवै पक्षले छलफलमा उठाउने विषयबारे कुराकानी अगाडि बढिसकेको जनाए । चीनमा रहेका अमेरिकी कम्पनीमाथि करवृद्धिको असर पर्न थालेको समाचार आएसँगै वासिङ्टनले वार्ताका लागि आमन्त्रण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने ५ सय अर्ब अमेरिकी डलर बराबरको आयातमा करवृद्धि गर्ने चेतावनी दिएको एक सातापछि नै अर्थमन्त्री मुन्चिनको नयाँ वार्ता प्रस्ताव आएको छ ।

Page 10
कला र शैली

इन्द्रजात्राको लिंगोको सहर यात्रा

‘योसी (लिंगो) पहिला मानन्धरहरूले मात्रै तान्ने चलन थियो । अहिले अरूले पनि तान्छन् । नालाकै गाउँलेले पनि सहयोग गर्छन् ।’
- दामोदर न्यौपाने
इन्द्रजात्राका लागि लिंगो काट्न मंगलबार काभ्रेको नालातर्फ जानुअघि हनुमानढोकामा गुरुजु पल्टनसहित मानन्धर समुदायका अगुवा  । तस्बिर : कान्तिपुर

 (काठमाडौँ)- काठमाडौंका लागि इन्द्रजात्रा जति महत्त्वपूर्ण हो, त्यति नै प्रमुख मानिन्छ यसको लिङ्गो । अर्थात्, योसी । त्यसैमा इन्द्रध्वजा राखिन्छ । यस पालि पनि योसी आफ्नो गन्तव्यमा आइपुगेको छ ।


योसीलाई काभ्रेको नालाबाट दुई दिन लगाई तानेर बिहीबार भोटाहिटीमा ल्याइपुर्‍याइएको हो । यसका लागि हनुमानढोका दरबारभित्रको नासलचोकबाट मंगलबार बिहान मानन्धर समुदायका केही व्यक्ति योसी काट्न नालातर्फ लागेका थिए । टाउकामा सेतो फेटा बाँधेका मानन्धर अगुवाहरू गुरुजु पल्टन पछयाउँदै अघि बढे । मंगलबार राति ९:२१ को साइत पारेर योसी काटे ।
इन्द्रजात्राको व्यवस्थापनमा काम अनुसार विभिन्न जातजातिको संलग्नता हुने चलन छ । तीमध्ये लिंगो व्यवस्थापन गर्ने काम चाहिँ मानन्धर समुदायको हो । भाद्र शुक्ल द्वितीयामा लिंगो काट्ने साइत जुराइन्छ । अनि सम्बन्धित व्यक्तिहरू गुरुजु पल्टनसहित काभ्रेको नाला जंगल जान्छन् ।
‘रूख छान्ने काम चाहिँ शिवरात्रिकै बेला भइसक्छ,’ मानन्धर संघका केन्द्रीय सचिव गजेन्द्रमान मानन्धरले भने । उनका अनुसार जंगलमा कालो बोको छाडेपछि त्यसले जुन रुख छुन्छ त्यही रूख विधिपूर्वक काटेर इन्द्रध्वजाका लागि योसी तयार पारिन्छ । भाद्र शुक्ल द्वितीयामा रूख काट्न गुरुजु पल्टनसहितको वनयात्रा सुरु हुन्छ । एकादशीमा योसी नगर प्रवेश गराइन्छ । पूर्णिमामा योसी खडा गरेपछि इन्द्रजात्रा विधिवत् सुरु हुन्छ । विभिन्न देवीदेवताको प्रदर्शन, सांस्कृतिक बाजागाजा, झाँकीसहित आठ दिन मनाएपछि इन्द्रजात्रा सकिन्छ ।

 बिहीबार लिंगो तानेर काठमाडौंको भोटाहिटीतर्फ लैजाँदै श्रद्धालुहरू । 
तस्बिर : कान्तिपुर


योसी मानिसले नै तानेर ल्याउने चलन छ । यसलाई तान्न भक्तपुरका सर्वसाधारणले पनि सघाउँछन् । ‘पहिला मानन्धरले मात्रै तान्ने चलन थियो,’ गजेन्द्रमानले भने, ‘अहिले अरूले पनि तान्छन् । नालाकै गाउँलेले पनि सहयोग गर्छन् ।’


योसीलाई भोटाहिटीबाट उठाउने काम धालासीका मानन्धरले गर्छन् । अनि कायअष्टमी तिथिमा त्यसलाई भोटाहिटीबाट हनुमानढोका दरबार लगिन्छ । ‘एकादशीमा डोरीले बाँध्ने काम हुन्छ, यो चाहिँ चस्वाँद्धँ मानन्धरहरूले गर्छन्,’ गजेन्द्रमानले भने, ‘द्वादशीको दिनमा सबै मानन्धर मिलेर योसी उठाउने काम हुन्छ । बल्ल इन्द्रजात्राको रौनक सुरु हुन्छ ।’
वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरेर यो पर्व मनाइन्छ । काठमाडौंमा वर्षेनि धेरै जात्रा मनाइन्छन् । तीमध्ये रमाइलो हो— इन्द्रजात्रा । यो बेला वसन्तपुर क्षेत्रका विभिन्न मठमन्दिर भरिभराउ हुन्छन् ।


यो पर्वको ऐतिहासिक महत्त्व छ । तत्कालीन कान्तिपुर इन्द्रजात्रामा रमाइरहेकै बेला १८२५ असोज १३ गते राति गोरखाका राजा पृथ्वीनारायण शाहले आक्रमण गरेका थिए । यस युद्धमा दुवैतिरका २०–२५ जनाको मृत्यु भएको इतिहास छ । गोरखालीको आक्रमणपछि कान्तिपुरका राजा जयप्रकाश मल्ल भागेर पाटन पुगे । त्यसको ११ दिनपछि गोरखालीले पाटन पनि विजय गरेपछि जयप्रकाश भक्तपुरका राजा तेजनरसिंह मल्लकोमा शरण लिन पुगे । पाटन विजय गरेको एक महिनापछि गोरखालीले भक्तपुरमा आक्रमण गरे । यहाँ जयप्रकाश पनि घाइते भए । पृथ्वीनारायणले जयप्रकाशको इच्छाअनुसार उनलाई आर्यघाट पुर्‍याइदिए । आर्यघाट गएको केही दिनमा जयप्रकाशको मृत्यु भयो । इन्द्रजात्रामा यिनै जयप्रकाशको बढी सम्झना गरिन्छ ।


इन्द्रजात्रा कुन बेला सुरु भयो भन्ने यकिन नभए पनि जयप्रकाशले जात्रामा धेरै सुधारका काम गरेको मानिन्छ । लिच्छविकालीन राजा गुणकामदेवको पालामा पनि इन्द्रजाज्ञा व्यवस्थित पारिएको मानिन्छ । मल्ल वंशका अन्तिम राजा जयप्रकाशले इन्द्रजात्रामा कुमारी पूजाको चलन बसाएको पनि पाइन्छ । कुमारीलाई तलेजु भवानीको प्रतीक मानिन्छ ।

कला र शैली

ब्रेकअप गर्ल जोनिता

मैले पैसा कमाउन कभर सङ गाएकी होइन । तीबाट सिकूँ भनेर गाउँछु । तिनको मौलिकता नबिग्रियोस् भन्नेमा सचेत छु । -जोनिता गान्धी
- सजना बराल

 (काठमाडौं)- फिल्म ‘ये दिल है मुश्किल’ को ‘ब्रेकअप सङ...’ खुब चर्चित बन्यो । यसपछि गायिका जोनिता गान्धीलाई ‘ब्रेकअप गर्ल’ भन्न थालियो । बुधबार काठमाडौंमा भेटिएकी जोनितालाई मिराकी इभेन्टका अनिश शाक्यले पनि ब्रेकअप गर्ल भन्दै सम्बोधन गरे । जोनिता लजाइन् अनि चित्त नबुझेको शैलीमा दायाँ–बायाँ टाउको हल्लाइन् ।


‘म एउटै गीत, एउटै विधामा सीमित हुन चाहन्नँ,’ उनले कान्तिपुरसँग भनिन्, ‘नयाँ–नयाँ शैलीमा प्रयोग गर्न रुचाउँछु ।’


क्यानडामा हुर्किएकी भारतकी यी गायिका शुक्रबार होटल अन्नपूर्णमा हुने ‘टुबोर्ग मिराकी लाइभ : जोनिता गान्धी इन नेपाल’ कन्सर्टका लागि बुधबारै काठमाडौं आएकी थिइन् । अमेरिकाको सांगीतिक भ्रमण सकेर सोझै नेपाल आएको हुनाले अलि थाकेको बताइन् । यहाँ हुने कन्सर्टका लागि पाँच जना वाद्यवादक र अन्य गरी आठ जनाको टोली उनले ल्याएकी छन् । समारोहमा उनीअघि दीपक बज्राचार्य र ज्योभान भुजूले प्रस्तुति दिनेछन् । नेपाली र विदेशी आर्टिस्टलाई एकै स्टेजमा प्रस्तुत गर्न चाहेको मिराकीका शाक्यले बताए ।


गएको फेब्रुअरीमा पनि जोनिता सुटुक्क नेपाल आएकी रहिछन् । काठमाडौंकै कुनै होटलमा प्रस्तुति दिएर गएको बताइन् । ‘प्राइभेट इभेन्ट थियो,’ उनले भनिन्, ‘कुनचाहिँ होटल हो भन्ने थाहै छैन ।’ यस पालि नेपाली संगीतकर्मीको प्रस्तुति हेर्न पाउने भएकाले खास उत्साहित भएको बताइन् । कन्सर्टमा लाखे नाच, पुलु किसी र धामी–झाँक्री नृत्य पनि समावेश गरिने थाहा पाएपछि उनी झनै पुलकित बनिन् ।


‘यहाँको मौलिकता बुझ्न पाउने भएँ,’ उनले भनिन्, ‘मैले विभिन्न भाषामा गीत गाएकी छु । नेपाली सिक्ने विचार छ अब ।’

 

युटयुबबाट बलिउड
पछिल्लो समय एआर रहमानका कन्सर्टमा व्यस्त जोनिता सुरुमा युटयुबमा लोकप्रिय थिइन् । वेस्टर्न क्लासिकल र हिन्दुस्तानी शास्त्रीय संगीत दुवै सिकेकी उनी कभर सङमार्फत चिनिएकी हुन् । ‘चुरा लिया है तुमने...’, ‘लग जा गले...’, ‘बोल दो ना जरा...’, ‘सौ आसमान...’ जस्ता गीतको कभर भर्सनले उनलाई युटयुब स्टार बनाइदिएको थियो । तिनै भिडियोका कारण बलिउडमा उनलाई ब्रेक मिल्यो ।


‘कभर सङबाट हामीले अर्थोपार्जन गर्न पाउँदैनौं,’ उनले भनिन्, ‘जति पनि रिभेन्यु उठ्छ त्यो सबै कपिराइट होल्डरले लिन्छन् । मैले पैसा कमाउन कभर सङ गाएकी पनि होइन । तीबाट सिकूँ, राम्रो गीतको आनन्द उठाऊँ भनेर कभर गाउँछु ।’ कभर भर्सनले पुराना गीतलाई ताजगी दिने उनको बुझाइ छ । कभर गर्नु भनेको मौलिक गीतको पुन:सिर्जना गर्नु हो भन्ने उनलाई लाग्छ । ‘अरूका गीत आफ्नो शैलीमा गाउँछु,’ उनले भनिन्, ‘तर, मौलिकता नबिग्रियोस् भन्नेमा सचेत छु ।’


उनी युटयुबलाई राम्रो प्लेटफर्म मान्छिन् ।


रोकटोक गर्ने कोही नहुँदा आफ्नो सिर्जना जस्ताको त्यस्तै अभिव्यक्त गर्न सकिने बताइन् । यहाँ आउने इमानदार प्रतिक्रियाले आफूलाई सुधारिन र ऊर्जाशील बन्न प्रेरित गर्ने उनको भनाइ छ । आफ्ना पुराना फयानका लागि उनी अझै पनि कभर सङ गाइरहेकी हुन्छिन् ।


जोनितालाई अब कभर गाउन जरुरी छैन । फिल्मी गीतका प्रस्ताव मनग्गे आउँछन् । बलिउडका नामी संगीत निर्देशकसँग काम गरिसकेकी छन् । एआर रहमानदेखि सलिम सुलेमान, प्रितम, विशाल–शेखर, अमित त्रिवेदी, विशाल भारद्वाजलगायत संगीतकर्मी उनलाई खोज्छन् ।


‘बलिउडमा चान्स पाउन सजिलो छैन,’ क्यानडाबाट स्वदेश आएर संघर्ष गरेकी जोनिताले भनिन्, ‘मजस्तो गीत गाउने मान्छे कति छन् त्यहाँ † तर, त्यो भीडमा आफूलाई छुट्टै देखाउन सक्यो भने धेरै माथि पुगिन्छ ।’ सन् २०१३ मा ‘चेन्नई एक्सप्रेस’ फिल्मको शीर्ष गीतमार्फत बलिउड प्लेब्याक सिंगिङमा प्रवेश गरेकी उनले त्यसयता ‘हाइवे’, ‘दिलवाले’, ‘ढिसुम’, ‘पिंक’, ‘ये दिल है मुश्किल’, ‘दंगल’, ‘डियर माया’, ‘जब हयारी मेट सेजल’, ‘प्याडम्यान’ लगायतका लागि गाएकी छन् ।


‘नेपालमा पनि मेरा फयान छन् नि,’ उनले जाँदाजाँदै भनिन्, ‘मलाई युटयुब र सोसल मिडियामा कत्ति धेरै म्यासेज पठाउनुहुन्छ ! बलिउड म्युजिकको ठूलो अडियन्स नेपालमा हुनुहुन्छ भनेर थाहा पाएरै म यहाँ आएकी हुँ ।’ उनले डेढ घण्टा प्रस्तुति दिनेछिन् ।

कला र शैली

गोल्डेन डोरमा ‘सेलफोन’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रविधि र सांस्कृतिक मान्यताबीचको संघर्ष समेटिएको छोटो फिल्म ‘सेलफोन’ अमेरिकाको आठौं गोल्डेन डोर इन्टरनेसनल फिल्म फेस्टिभल अफ न्युजर्सीमा छानिएको छ । यही सेप्टेम्बर २० देखि हुने तीनदिने फेस्टिभलको फयामिली ड्रामा विधाअन्तर्गत ‘सेलफोन’ छानिएको हो । फूलमान वलको निर्देशन रहेको १५ मिनेट लामो ‘सेलफोन’ मा ढयाङग्रो बेचेर मोबाइल फोन किन्ने एक युवकको संघर्ष समेटिएको छ ।


बजार र प्रविधिका कारण परम्परागत मूल्यमान्यतामाथि आइलागेको चुनौती प्रस्तुत गरिएको यो छोटो फिल्मले केही वर्षअघि राजधानीमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म फेस्टिभलमा अवार्ड पाएको थियो । त्यस्तै चीन, बंगलादेश, अमेरिका, कोलम्बिया लगायतका मुलुकका आधा दर्जन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूको अफिसियल सेलेक्सनमा परिसकेको छ । ङिमा पाख्रिन (अमेरिका), चन्द्रमाया बमजन (इजरायल) लगायत निर्माता रहेको ‘सेलफोन’ मा उमेश तामाङ, शान्ति वाइबा, प्रेम लोप्चन लगायतले अभिनय गरेका छन् । ‘संस्कृति र आधुनिकताबीचको संघर्ष तेस्रो विश्व मात्रै हैन, संसारभर नै छ,’ अमेरिकामै रहेका निर्माता ङिमा पाख्रिनले भने, ‘सेलफोनले भने तामाङ समुदायको समस्या उठाएको छ ।’


त्यस्तै, फेस्टिभलको म्युजिक भिडियो विधामा नेपालबाटै गायक रामकृष्ण ढकालको ‘अचेल पाइलै पिच्छे...’ बोलको गीत छानिएको छ । कृसु क्षेत्रीको शब्द रहेको यो गीतसँगै फेस्टिभलका लागि विश्वभरबाट झन्डै एक सय म्युजिक भिडियो छानिएका छन् । हिमाल सागरको संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन बिक्की पुलामी खडगले गरेका छन् । गीतमा मानवीय जीवनको सफलता र असफलतालाई तुलना गरिएको छ ।

कला र शैली

शुक्रबार ‘साली कसको भेनाको’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– गाउँघरमा घट्ने समसामयिक कथावस्तुलाई आधार बनाई बनाइएको फिल्म ‘साली कसको भेनाको’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । कमेडी जानरामा भद्र भुलेजको निर्देशनमा बनेको उक्त फिल्मले गरेको प्रिमियरमा उपस्थित विशिष्ट दर्शकबाट सुखद प्रतिक्रिया बटुलेको थियो । मगर गाउँको सेटअपमा रहेको फिल्ममा जीवन्त संवाद र मौलिक कथावस्तुले दर्शक मन जितेको थियो । फिल्ममा मनभित्र आ–आफ्नो कथाव्यथा लुकाएका साली र भेनाबीचको जीवन भोगाइलाई पस्किन खोजिएको छ ।


विल्सनविक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुषमा कार्की, जयनन्द लामा, कविता आले, रवि गिरी, वीरेन श्रेष्ठ, प्रिया रिजाल, पुष्प आचार्य, देव सागर, बलबहादुर गुरुङ लगायतको अभिनय रहेको फिल्मलाई मुभिङ पिक्चर्सको ब्यानरमा प्रसाद श्रेष्ठले प्रस्तुत गरेका हुन् । पुराना निर्माता श्रेष्ठले यसअघि ‘कान्छी’, ‘सन्तान’ र ‘कर्जा’ जस्ता हिट फिल्म बनाएका थिए । लामो समयपछि उनी निर्माणमा फर्किएका हुन् । पुष्प आचार्यको पटकथा लेखन रहेको फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन् । फिल्ममा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मीन घलानको संगीत रहेको छ ।

 

कला र शैली

शाह र मैनालीलाई भैरव

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– लामो समयदेखि कला र व्यंग्य चित्र क्षेत्रमा कुची चलाउँदै आएका कलाकार शशि शाहलाई भैरव पुरस्कार र हास्यव्यंग्यकार युवराज मैनालीलाई भैरव प्रतिभा पुरस्कार दिइने भएको छ । गुठीको हालै बसेको बैठकले शाह र मैनालीलाई पुरस्कार दिने निर्णय गरेको हो ।
साहित्यकार तथा पत्रकार विजयराज चालिसेको संयोजकत्वमा हास्यव्यंग्यकार नरेन्द्रराज पौडेल र कला समीक्षक ज्ञानेन्द्र विवश रहेको चयन समितिले पुरस्कारका लागि शाह र मैनालीलाई छनोट गरेको हो । भैरव पुरस्कारमा सम्मानपत्रसहित ५० हजार र भैरव प्रतिभा पुरस्कारमा सम्मानपत्रसहित २५ हजार रुपैयाँ रहने गुठीका सचिव वसन्त रिजालले जनाए ।


हास्यव्यंग्य साहित्यका शाश्वत शिल्पी भैरव अर्यालको सम्झनामा चिरस्थायी र हास्यव्यंग्यको प्रवद्र्धन गर्ने उद्देश्यले हास्यव्यंग्य क्षेत्रमा योगदान पुर्‍याएका साधकहरूलाई प्रदान गर्दै आएको छ । शाह भैरव पुरस्कार पाउने २० औं स्रष्टा हुन् भने मैनाली १८ औं स्रष्टा हुन् । २०४६ मा स्थापित पुरस्कार सुरुमा प्रत्येक वर्ष दिइँदै आइरहे पनि २०५७/०५८ देखि दुई वर्षमा दिइँदै आइरहेको छ । पुरस्कार असोज ६ गते प्रज्ञा प्रतिष्ठानको नयाँ भवनमा समर्पण गरिने बताइएको छ ।

कला र शैली

दुवाल सम्मानित

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– साहित्यकार मोहन दुवाल र भारती दुवाललाई वासुदेव–विद्यादेव लुइँटेल गुठीले सम्मान गरेको छ । साहित्यकार मोदनाथ प्रश्रितले मोहन दुवाल र भारती दुवाललाई १० हजार रुपैयाँसहित सम्मानपत्र हस्तान्तरण गरेको हो ।


पाँच दशकदेखि नेपाली भाषा र साहित्यको संरक्षण, सम्वद्र्धन तथा सम्वृद्धिका लागि जातीय, वर्गीय, लैंगिक, भाषिक तथा सांस्कृतिक भेदभाव नगरी जनमत पत्रिका प्रकाशन, देशविदेशका १ सय ४० भन्दा बढी साहित्यकारहरूको सम्मान, १ सय ५० भन्दा बढी पुस्तक प्रकाशन र जनमत पुस्तकालय तथा जनमत वाङ्मय प्रतिष्ठानको स्थापना गरी अनवरत रूपमा योगदान पुर्‍याएको भन्दै गुठीले सम्मान गरेको हो ।


कार्यक्रममा ‘भैरव पुरस्कार गुठी’ को लागि १ लाख ११ हजार एक सय ११ रुपैयाँ गुठीका अध्यक्ष रोचक घिमिरेलाई हस्तान्तरण गरिएको थियो ।

कला र शैली

प्रज्ञाबाट ‘अनुवादक परिचय कोश’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल प्रज्ञा प्रतिष्ठानले अनुवादक साहित्यकारहरूको परिचय कोश प्रकाशित गरेको छ । विभिन्न मुलुकका समाज, संस्कृति र साहित्यका अनेक आयाम बुझ्न/बुझाउन अनुवादक साहित्यको ठूलो भूमिका रहेको भए पनि अहिलेसम्म अनुवादकहरू केन्द्रित भएर पुस्तक आउन नसकेको बताउँदै त्यही अभाव पूर्तिका लागि ‘अनुवादक परिचय कोश’ निकालिएको प्रतिष्ठानकी निवर्तमान अनुवाद विभाग प्रमुख प्रा. उषा ठाकुरले बताइन् ।


‘मुलुकभित्र अंग्रेजीलगायत अन्य भाषाबाट नेपालीमा र नेपालीबाट अन्य भाषामा अनुवाद गर्ने विद्वान्–विदुषीहरू थुप्रै छन्,’ उनले भनिन्, ‘तर, उहाँहरूबारे खोजी अनुसन्धान हुन सकेको थिएन ।’ कोश निर्देशकसमेत रहेकी ठाकुरले दुई वर्ष लगाएर पुस्तक निकालिएको बताइन् । कोशमा ६ सय अनुवादक साहित्यकारहरू समेटिएका छन् । कोशका प्रधान सम्पादक प्रा. गोविन्दराज भट्टराई छन् भने सम्पादक मण्डलमा प्रा.योगेन्द्र यादव, जयदेव भट्टराई, बलराम अधिकारी, नवीन चित्रकार र माधवप्रसाद लामिछाने छन् ।


यस्तै अनुवाद विभागले नै अनुवाद पत्रिका ‘रूपान्तरण’ को छैटौं अंक पनि प्रकाशित गरेको छ । यस पटक कथा विशेषांकका रूपमा निकालिएको ठाकुरले जनाइन् । हिन्दी, नेपाली र अंग्रेजी तीन भाषामा अनूदित कथाहरू यस पटकको अंकमा समेटिएका छन् । ठाकुरका अनुसार यस अंकको हिन्दी खण्डमा नेपाली, संस्कृत र नेपालका मातृभाषा साहित्यका प्रतिनिधि कथाहरूमा हिन्दी भाषामा अनुवाद प्रस्तुत गरिएका छन् भने नेपाली खण्डमा भारत, जापान, अजरबैजान, अस्ट्रिया, जर्मनी, अमेरिका, इजिप्ट, पोल्यान्डका प्रसिद्ध कथाका नेपाली अनुवाद प्रस्तुत छन् । देवकुमारी थापा, बीपी कोइराला, भवानी भिक्षु, गोविन्द गोठाले, पोषण पाण्डे, प्रेमा शाह, मनु ब्राजाकी, इन्द्रबहादुर राई लगायतका कथाहरू अंग्रेजी भाषामा अनूदित भएका छन् ।


आफ्नो विभागको चारवर्षे कार्यकालमा २४ अनूदित कृति विभागीय परियोजनाबाट तयार भएकामा १४ कृति प्रकाशित भइसकेका र ६ वटा कृति प्रेसमा रहेको पनि ठाकुरले जनाइन् ।

कला र शैली

अमरका गीत

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– गीतकार अमर बान्तुको एल्बम ‘अमर भावना’ सार्वजनिक गरिएको छ । पूर्वी पहाडको भोजपुरमा जन्मीहुर्की काठमाडौंलाई कर्मथलो बनाएका अमर कविता तथा गीतमा कलम चलाउँदै आएका छन् । फुटकर गीत रचना गर्दै आएका उनको यो पहिलो गीति एल्बम हो । एल्बममा ‘जिन्दगीको दौडमा...’, ‘फूलजस्तै...’, ‘फत्रँmदै रहरहरू...’, ‘युगौं भयो...’, ‘हिँड्नुपर्ने...’, ‘जन्मने रहर...’, ‘आमा...’, ‘ओठमा आई...’, ‘दिल्पा दाँवा...’, ‘भोजपुरैको बजारमा...’ लगायत एक दर्जन गीत छन् ।


आधुनिक स्वादका गीतहरूलाई राजु सिंह, न्ह्यु बज्राचार्य, शान्तिराम राई, राज सागर, पारस मुकारुङ र मनोज थापाले संगीत दिएका छन् भने स्वरूपराज आचार्य, उदय सोताङ, राजेशपायल राई, अञ्जु पन्त, एड्रिन प्रधान, आनी छोइङ डोल्मा, राज सागर, भीषण मुकारुङ र बानिका प्रधानको स्वर सुन्न सकिन्छ ।

कला र शैली

लन्डनमा मोतीरामको सम्झना

- कान्तिपुर संवाददाता

लन्डन (कास)– व्यस्त दैनिकीका कारण साहित्यिक गतिविधि त्यति धेरै हुन्न डायस्पोरामा । सर्जक थोरै, समय थोरै । कविता, गजल वाचन वा अन्य गतिविधि भए पनि केवल औपचारिकतामा सकिन्छ । तर, सप्ताहान्त लन्डनमा एउटा गजल साँझ भयो जसमा पैसा खर्चेर साहित्यानुरागी गजल सुन्न जम्मा भए ।


एनआरएनए यूके भाषा साहित्य विभागद्वारा मोती जयन्तीका अवसरमा आयोजित उक्त समारोहमा प्रमुख आकर्षण थिए गजलकार रवि प्राञ्जल र गजल गायक राज सिग्देल । स्थानीय स्रष्टाहरूले पनि साथ दिए, नेपालबाट आएका सर्जकहरूलाई ।


बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले गजल कविताको गाजल हो भन्ने वरिष्ठ साहित्यकार जगदीशशमशेर राणाको भनाइ स्मरण गरे ।


कार्यक्रममा प्राञ्जलले आफ्ना दर्जन हाराहारी रचना सुनाए । राजले आफ्ना र अन्य गजलकारका रचना गाए । ‘ऊ जितेर गई या हारेर गई...’, ‘च्वास्स बिझ्ने तिम्रो माया...’, ‘नजर दामी हजुरको...’ जस्ता नेपाली र केही हिन्दी गजल सुनाए । लन्डनमै बस्ने गायिका शर्मिला बर्देवा र गायक प्रमोदराज न्यौपानेले पनि गाए ।


कार्यक्रममा बेलायतका स्थानीय गजलकारहरू रेखा खरेल, सञ्जिता देउजा, रुपक श्रेष्ठ, शशी थापा सुब्बा, सुमलकुमार गुरुङ, दुर्गाप्रसाद पोखरेल, विदेहमणि उपाध्याय, नृपेश उप्रेती लगायतले पनि आफ्ना गजल वाचन गरे ।

Page 11
समाचार

प्रोटोकल मिच्दै राजदूत

- घनश्याम खड्का

 (काठमाडौं) - भारतीय राजदूत मञ्जिवसिंह पुरीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई पद बहालीको भोलिपल्टै सोमबार सैनिक मुख्यालय पुगेर शिष्टाचार भेट गरे । नेपालले भारतमा बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा भाग नलिएको पृष्ठभूमिमा भएको यो भेटघाटबारे परराष्ट्र मन्त्रालय भने बेखबर छ ।


‘विदेशी राजदूत या पदाधिकारीले सरकारको कुनै निकायका अधिकारी भेटदा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने प्रोटोकल छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर प्रधानसेनापतिलाई राजदूत पुरीले गरेको भेटघाटबारे हामीलाई कुनै जानकारी छैन ।’
विज्ञहरूले प्रोटोकल मिचेर गरिएको भ्रमणलाई नेपालको कूटनीतिको अपमान भन्दै सरकारले यस्तो प्रवृत्ति रोक्न नसकेको टिप्पणी गरेका छन् ।


‘विदेशी राजदूतले सरकारका कुनै पनि अंगका अधिकारी भेटदा परराष्ट्रलाई बाइपास गर्न मिल्दैन,’ पूर्वराजदूत दिनेश भट्टराई भन्छन्, ‘परराष्ट्रमार्फत भेटघाट गरे पनि उनीहरूबीच के कुराकानी भयो भन्ने जानकारी सरकारलाई दिनुपर्छ । यसरी आफूखुसी भेट्न र भेटघाटमा उठाइएका कुरा गोप्य राख्न पाइन्न ।’ प्रोटोकल पालना नहुँदा कूटनीतिक तहमा ठूलो कमजोरी रहने गरेको उनले बताए ।


नेपाली सेनाका प्रमुखलाई राजदूतहरूले आफूखुसी भेट्नु राष्ट्रिय हित र लोकतान्त्रिक मूल्यमान्यताका दृष्टिले पनि अनुचित हुने अर्का पूर्वराजदूतको विश्लेषण छ ।


‘सेना देशको सुरक्षासँग जोडिएको संवेदनशील अनि मुख्य निकाय हो जो पूरै सरकारको मातहतमा रहनुपर्छ,’ उनले भने, ‘तर सरकारको समानान्तर निकाय भएजसरी सेनासँग सिधै कूटनीतिक भेटघाट भइरहेको छ । यसबारे सरकार केही नबोल्नु लज्जास्पद विषय हो ।’ उनका अनुसार संयुक्त अभ्यासमा समेत परराष्ट्रलाई थाहै नदिई सिधै सेनालाई निम्ता गएपछि चर्काे आलोचना भएको थियो । त्यसैलाई ध्यानमा राखेर सरकारले भाग नलिने निर्णय गरेको उनको बुझाइ छ ।


‘यस्ता शिष्टाचार भेटघाट पहिले पनि हुन्थे । राजदूत पुरीसँगको भेट पनि त्यस्तै हो,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, ‘तर परराष्ट्रमार्फत जानकारी वा अनुमति लिएर भेटघाट भए/नभएको हामीलाई थाहा हुँदैन ।’ अवकाश प्राप्त रथी बालानन्द शर्माको अनुभवमा पनि विदेशी राजदूतसँग नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिले भेटेको यो पहिलो घटना होइन ।


‘सेनापतिसँग भेट्न राजदूतहरूको होड नै लाग्छ,’ उनले भने, ‘तर यो कुनै आपत्तिजनक विषय होजस्तो मलाई लाग्दैन । किनभने यो शिष्टाचारपूर्वक भएको भेटघाटमात्र हो । यसमा लेनदेनको कुनै क्रियाकलाप नै नहुने भएकाले भेटदा केही फरक पर्दैन ।’ परराष्ट्र मन्त्रालयको प्रोटोकल भने सेनालाई थाहा नहुने शर्माको भनाइ छ ।

समाचार

किचलोले कांग्रेस बैठक अनिश्चित

अनुशासन, निर्वाचन र केन्द्रीय कार्यसम्पादन समिति बन्न सकेनन्
- कुलचन्द्र न्यौपाने

 (काठमाडौं)- अनुशासन समिति गठन नहुँदै किचलो भएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बोलाइएको बैठक स्थगित भएको छ । अनुशासन, निर्वाचन र केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने एजेन्डा राखेर सभापति शेरबहादुर देउवाले बिहान ११ बजेका लागि बैठक बोलाएका थिए ।


अनुशासन समिति गठन गर्दा सबैलाई न्याय दिन सक्ने र विवेक पुर्‍याउन सक्ने सदस्यहरू राख्नुपर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकमा निर्णय गर्नुअघि सहमति जुटाउन दबाब दियो । तर, सभापति देउवाले ५ सदस्यीय समिति गठन गर्ने जानकारी गराउँदै २ जनाको नाम दिन पौडेलसँग आग्रह मात्रै गरे, समितिका संयोजक र आफ्नो पक्षका सदस्यहरूको नाम सुनाएनन् ।
पौडेल पक्षले समितिमा रहने २ जनाको नाम दिए केन्द्रीय कार्यसमितिको बहुमतबाट निर्णय गराउने योजनामा सभापति देउवा थिए । तर, पौडेल पक्षले पूर्वसहमति नजुटाई नाम दिन मानेन । यही कारण सभापति देउवा र पौडेलबीच दिनभर गलफती चल्यो ।
‘अनुशासन समिति र निर्वाचन समितिजस्तो गम्भीर समिति निश्चित मापदण्डका आधारमा समझदारीका साथ बनाउनुपर्छ भन्ने मेरो भनाइ हो,’ पौडेलले कान्तिपुरसँग भने, ‘सबैलाई विश्वासमा लिएर विवेकपूर्ण समिति बनाउनुपर्छ भन्दा सभापतिले दुई जनाको नाम मात्रै माग्नुभयो ।’


पौडेलले अनुशासन, निर्वाचन, केन्द्रीय कार्यसम्पादन समिति र विभागहरू एकैसाथ प्याकेजमा सहमति जुटाएर निर्माण गर्नसमेत प्रस्ताव गरेका थिए । देउवाको जोड भने अनुशासन समिति बनाउनेमै केन्द्रित थियो ।


निर्वाचनमा पार्टीकै उम्मेदवारलाई अन्तर्घात गर्नेहरूलाई कारबाही गर्न अनुशासन समिति गठन गर्न लागिएको हो । देउवाले अनुशासन समितिको संयोजकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बे र सदस्यहरूमा देवेन्द्रराज कँडेल र किशोर राठौरलाई राख्ने तयारी गरेका थिए । पौडेल पक्षले अनौपचारिक माध्यमबाट देउवाको तयारीबारे जानकारी पाएपछि दुई नेताबीच लामो छलफल भएको थियो ।


समितिमा प्रस्ताव गर्न लागिएको नामबाटै पौडल पक्ष सशंकित भएको छ । आफ्नो विरोध गर्नेहरूलाई छानीछानी कारबाही गर्ने र समर्थकलाई जोगाउने रणनीतिबाट समिति गठन गर्न खोजिएको भन्दै पौडेल पक्ष समितिमा रहने संयोजक र सदस्यहरू सर्वस्वीकार्य हुनुपर्ने अडानमा दिनभर रह्यो । तर, देउवाले आफ्नो पक्षको सदस्यहरूको नाम खोलेनन् ।


देउवानिकट एक सदस्यका अनुसार सभापति देउवालाई पत्नी आरजु राणालाई चुनाव हराउन लाग्ने र अन्तर्घात गर्नेहरूमाथि तत्काल कारबाही गर्नुपर्ने ठूलो दबाब छ । त्यस्तो दबाब बाहिरबाट नभएर परिवारबाटै छ । देउवा कैलालीको निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवार थिइन् । ‘राणालाई हराउन पार्टीका केही वरिष्ठ नेताहरू नै लागेको भन्दै कारबाही गर्न दबाब बढेको छ,’ देउवानिकट ती सदस्यले भने, ‘सभापतिले सार्वजनिक रूपमा पनि धेरैपटक चुनावमा अन्तर्घात गर्नेहरूलाई नछाड्ने बताउँदै आउनुभएको हो ।’


देउवाको यही भित्री मनसाय बुझेर नै पौडेल पक्षले समिति गठन गर्दा सहमतिबाट मात्रै हुनुपर्ने अडान राखेको हो । पूर्वमहामन्त्री सिटौला पक्षले भने यसअघिको अनुशासन समिति पार्टीबाट विघटन नभएको र राजीनामा पनि नदिएकाले त्यही समितिलाई सक्रिय बनाउन सुझाएका थिए । यसअघि रमेश रिजालको संयोजकत्वमा सुरेन्द्र पाण्डे, हृदयराम थानी, कमल पन्त र उमाकान्त चौधरी रहेको समिति थियो । उक्त समितिलाई विस्थापित गरेर अहिले नयाँ समिति बनाउन खोजिएको हो ।

समाचार

संहितामा सुझाव दिन कार्यदल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता ग्यारेन्टी गर्ने सम्बन्धमा सुझाव दिन १५ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको छ । कार्यदलको संयोजक पत्रकार देवप्रकाश त्रिपाठी छन् । कार्यदलमा पत्रकार महासंघ अध्यक्ष गोविन्द आचार्य, नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला, मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपाने, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा, अनलाइन सञ्चार माध्यमका पूर्ण बस्नेत, पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झा, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङ, वरिष्ठ पत्रकार टीकाराम राई र पत्रकार राजेश अहिराज सदस्य छन् ।


कार्यदलको समयावधि काम सुरु भएको मितिले ४५ दिन तोकिएको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रचलन र मौलिक अभ्यास तथा सम्बद्ध क्षेत्रसँग समेत परामर्श गरी सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यदललाई जनादेश दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समाचार

पप्पुमाथि छानबिन समिति

१५ दिनभित्र विस्तृत विवरण उपलब्ध गराउन भौतिक मन्त्रालयलाई निर्देशन दिएको छ
- विमल खतिवडा

 (काठमाडौं) - सरकारले पप्पु कन्स्ट्रक्सनमाथि छानबिन थालेको छ । उक्त कन्स्ट्रक्सनले बनाएका सडक र पुल गुणस्तरहीन भएको, समयमै निर्माण नसकेर अलपत्र पारेको गुनासो बढेपछि ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिले आइतबारबाट काम सुरु गरेको छ ।


भौतिक पूर्वाधार मन्त्रालयले पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा साताअघि समिति बनाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पप्पु कन्स्ट्रक्सनको विस्तृत विवरण मागेको छ । ‘कसरी काम समयमै सकिएन, किन समस्या आयो, यसको विस्तृत विवरण उपलब्ध गराउन मन्त्रालयसँग माग गरेका छौं,’ कार्यालयका सचिव केदारबहादुर अधिकारीले भने, ‘मन्त्रालयलाई १५ दिनभित्र विवरण पठाउन भनिएको छ । रिपोर्ट आएपछि कारबाहीबारे विचार गरिनेछ ।’


समितिलाई १० दिनको समय दिइएको छ । ‘गोप्य भनेर चिठी आएको छ, अहिले सबै कुरा खुलाउन मिल्दैन,’ समिति संयोजक श्रेष्ठले भने, ‘हामीले काम थालिसकेका छौं, समय थपेर भए पनि छानबिन पूरा गर्छौं ।’


कन्स्ट्रक्सनले बनाएका पुल र सडकबारे समाचार आएपछि प्रधानमन्त्री कार्यालयबाट विवरण माग भएको भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव केशवकुमार शर्माले बताए । ‘त्यही भएर छानबिन समिति गठन गरिएको हो, समितिले अध्ययन गरिरहेको छ,’ उनले भने । पुल महाशाखाका अनुसार उक्त कन्स्ट्रक्सनले संयुक्त र एकल ठेक्कामा गरी साढे ५ अर्बका पुल जिम्मा लिएको छ । ३१ वटा पुलमध्ये १५ वटाको निर्माण अवधि सकिइसकेको छ । कुनै पुलको निर्माण अलपत्र छ त कुनै गुणस्तरहीन भएकाले हस्तान्तरण हुन सकेको छैन । कतै भासिएर समस्या आएको छ ।


हुलाकीमा पनि पप्पु नै
हुलाकी राजमार्गका अधिकांश ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको छ । संयुक्त ठेक्का पाए पनि मुख्य हर्ताकर्ता पप्पु नै छ । हुलाकी राजमार्ग आयोजनाअन्तर्गत १० वटा ठेक्का पप्पुले ज्वाइन्ट भेन्चरमा लिएको छ । सडकको ठेक्का मात्र ५ अर्ब २५ करोड ७४ लाख ७० हजारको छ । त्यस्तै पुल सातवटा छन् जसको कुल ठेक्का रकम १ अर्ब ७ करोड ८४ लाख १५ हजार छ ।


यी पुलको निर्माण तोकिएको समयमा नसकिँदा सर्वसाधारणले कष्ट भोग्नुपरेको छ । हुलाकी राजमार्गमा ५ वटा योजना ०७३ मा र ५ वटा ०७४ मा ठेक्का सम्झौता गरिएका छन् । यिनको काम सक्नुपर्ने मिति ०७६ र ०७७ सम्म छ । पुलको तेस्रो पटक म्याद थपिँदा पनि काम सकिएको छैन । ०६८ सालमा निर्माण थालिएका पुल नै अझै अपूरै छन् ।


पप्पु कन्स्ट्रक्सन संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सांसद हरिनारायण रौनियारको हो । उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । उनले आफुले कन्स्ट्रक्सन छाडेको दाबी गर्दै आएका छन् । तर, कन्स्ट्रक्सनबारे समस्या र विवाद आउँदा उनै अघि सर्ने गरेका छन् । कन्स्ट्रक्सन अध्यक्ष सुमित रौनियार उनका छोरा हुन् । सुमितले काममा ढिलाइ हुनुको दोष सरकारी पक्षलाई नै लगाएका छन् । निर्माण योजनाको सम्झौता भइसकेपछि डिजाइन परिवर्तन गर्ने, समयमै नक्सा उपलब्ध नगराउने, स्थानीयको अवरोध, लागत अनुमानको तुलनामा न्यून बजेट, बन्द हडताल, काम भइसकेको बिलको भुक्तानीमा ढिलाइ, निर्माण सामग्री अभाव मुख्य समस्या रहेको उनले औंल्याए ।


‘कालोसूचीको व्यवस्था कमजोर’
भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिव तुलसी सिटौला निर्माण व्यवसायीले क्षमताभन्दा बढी काम लिँदा सधैं समस्या आइरहने बताउँछन् । ‘कालोसूचीको व्यवस्था साह्रै कमजोर छ, सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा राख्ने भनेको एक वर्ष हो, त्यो अवधिमा उसले काम लिन मात्र नपाउने हो,’ उनले भने, ‘सबै गतिविधि चलिरहन्छ, कहीँ/केही रोक्का हुँदैन ।’ घटेर ठेक्का लिने तर आफूलाई घाटा नलाग्ने देखिए मात्र काम सुरु गर्ने प्रवृत्ति रहेको सिटौलाले औंल्याए । ‘मोबिलाइजेसनका रूपमा एड्भान्स भनेर थोरै रकम दिने गरिएको छ, त्यसबाट अलिकति कमाइ गरेर मात्र निर्माणमा जाऔं भन्ने चाहना राख्छन् । अहिले देखिएको समस्या यसैको असर हो,’ उनले भने ।


०७३ मा संशोधित सार्वजनिक खरिद ऐनले नयाँ काम दिनुपहिले पुरानो कामका लागि जनशक्ति, पैसा र इक्विपमेन्ट छुट्याउनुपर्ने भनेको छ । ‘यो ऐन लागू भए क्षमता नभएकाले नयाँ काम पाउने थिएनन्,’ सिटौलाले भने, ‘तर अहिलेसम्म लागू हुन सकेको छैन ।’ उनका अनुसार ठेक्का अवधि नजिकबाट नियाल्न जरुरी छ । समयमै काम नगरे तुरुन्तै कारबाही प्रक्रिया सुरु गर्न जरुरी छ ।


‘कुन ठाउँमा पुल बनाउने हो थाहा छैन, ठेक्का लगाउनै हतार हुन्छ,’ उनले भने, ‘सबै तयारी गरेर मात्र ठेक्का लगाउन सकिए समयमै निर्माणको काम गर्न सकिन्छ । निर्माण व्यवसायलाई माथिल्लो पदमा जाने, गाउँपालिका, नगरपालिका, वडाध्यक्ष यही क्षेत्रका व्यक्ति हुने प्रवृत्तिले विकृति भित्रिएको छ ।’

Page 12
समाचार

पानी पर्नासाथ घर छाड्छन्

- कान्तिपुर संवाददाता

सल्यान (कास)– आकाशमा कालो बादल मडारिन थालेपछि कुमाख गाउँपालिका ५, तलझरीवासीको मनमा चिसो पस्छ । कतै पहिरोले घरसँगै बगाउने त होइन ? उनीहरू चारैतिर हेर्न थाल्छन् । पानी परेपछि भने गाउँ छाडेर नजिकैको मिलमा रात गुजार्छन् ।


भदौ १ गते परेको भारी वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले घर बगाउने खतरा देखेपछि २० दिनभन्दा बढी उनीहरू विस्थापित भए । घाम लागे दिनभरि घरको काम गर्ने र पानी परे रात गुजार्न मिलमा गएर बस्छन् । उक्त दिनको पानीले बस्तीको तीनतिरबाट पहिरो आएपछि तलझरीका १७ परिवारका ८० जना उच्च जोखिममा परेको स्थानीय राजकुमार पुनले बताए । यसपालि असोज लाग्न थालिसक्दा पनि दैनिकजसो पानी परिहेकाले घरमा बस्न नसकेको उनले जनाए । ‘पहिरोका कारण घरका केही भाग भासिएका छन्, बस्तीमा रहेका सबै घर बगाउने खतरा छ,’ उनले भने, ‘खतरा हुँदाहुँदै कसरी बस्नु ?’


सावधानी नअपनाउँदा बाग्चौर नगरपालिका ४ र १२ मा दुईवटा घटनामा परेर आठ जनाले ज्यान गुमाएका थिए । उक्त घटनाका कारण तलझरबासी चिन्तित छन् । स्थानीय लोकबहादुर सुनारले दिउँसो घरमा गाईबस्तुलाई घाँसपात र दाउरा गर्ने अनि राति लत्ताकपडा लिएर सुरक्षित ठाउँतिर जाने गरेको सुनाए ।


स्थानीयको मनबाट त्रास अहिलेसम्म नहटे पनि पहिरो नियन्त्रणका लागि तत्काल कुनै व्यवस्था हुन सकेको छैन । सम्बन्धित निकायसमक्ष सुरक्षाका लागि तारजाली लगाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ ।


भदौ अन्त्यतिर पनि पानी नरोकिएकाले आफूहरूले समस्यामा मात्र नभई विभिन्न किसिमको दु:ख पाइरहेको टेकबहादुर बुढाले बताए । मिलमा कोचाकोच गरी सुत्नुपर्दा गाह्रो भएको उनी बताउँछन् । ज्यान जोगाउन बाहिर सुत्दा घरमा चोरी हुने डर उत्तिकै रहेको उनले सुनाए । ‘राति सुत्न अन्त गए पनि घर चोरी हुने हो कि भन्ने डरले सताइरहन्छ,’ उनले भने, ‘यस्तो दु:ख कहिलेसम्म खेप्नुपर्ने हो थाहा छैन ।’


पहिरोका कारण तलझरीमा मात्र करिब एक करोड बराबरको क्षति भएको छ । गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले पहिरोपीडित परिवारलाई वर्षा नरोकिँदासम्म सुरक्षित ठाउँमा बस्न भनेकी छन् ।

समाचार

वृद्धाश्रमका आमाहरूको तीज: माइती न घर, दिनहुँ खाए दर

- जितेन्द्र साह
विराटनगरको अशोकचोक बलुवाहीस्थित विराटेश्वर वृद्ध आश्रममा आराम गर्दै आमाहरू । तस्बिर : जितेन्द्र

 (विराटनगर) - ‘तीजमा निकै रमाइलो भयो,’ ७४ वर्षीया चन्द्रमाया कार्कीले भनिन्, ‘दिनदिनै दर खुवाउनेको लर्कोले बिहानदेखि साँझसम्म एकक्षण फुर्सद भएन ।’ उनी चार वर्षदेखि विराटनगर महानगरको अशोकचोक बलुवाहीस्थित विराटेश्वर वृद्धाश्रममा छिन् ।


उनीसहित आश्रमका आमाहरू बुधबार बिहान यसपालिको तीजको अनुभव सुनाउँदै थिए । ‘दाताले चतुर्थीदेखि मिठोमिठो खुवाउन थाले, बल्लतल्ल मंगलबार बिहानदेखि पेटले आराम पाएको छ,’ कार्कीले मुस्कुराउँदै भनिन् ।


स्वदेश एवं विदेशका नेपालीको सहयोगले सञ्चालित यो आश्रममा चतुर्थीका दिन ९ भदौदेखि २५ भदौ, प्रतिपदासम्म विभिन्न संघसंस्था र व्यक्तिले दर खुवाउने कार्यक्रम राखेका थिए । पनिर, परवल, मटर र आलुको तरकारी, अचार, ढकने खिर, दही, सर्बत, लालमोहन, रसवरी र फलफूल धीत मरुन्जेल खाएको आमाहरूले सुनाए ।


उपहारमा उनीहरूले थाल र कचौरा पनि पाएका छन् । कुनै बेला मोरङकै केराबारीमा माइती र विराटनगर २० दरैयामा घर भएकी उनलाई अहिले सहारा दिने कोही नभएपछि आश्रम आएकी हुन् । ४० वर्षअघि बिहे भएकी उनी नि:सन्तान छिन् ।


एउटा बैंकमा कार्यालय सहायक पदमा कार्यरत श्रीमान् शिवबहादुर कार्कीको छ वर्षअघि निधन भयो । त्ससपछि उनी एक्लिइन् । उनले दुई वर्ष निकै कष्टसाथ काटेको अनुभव सुनाइन् । ‘एक गिलास पानी दिने पनि कोही भएन,’ कार्कीले भनिन्, ‘एक दयालु बहिनीले यो आश्रममा पुर्‍याइदिइन् ।’


उनी यहाँ भने निकै खुसी छिन् । हरितालिका तीजका दिन बिहानको चियापछि आराम गरिरहेका अन्य आमा पनि निकै प्रफुल्ल देखिए । ‘तीजमा माइतभन्दा यहीं बढी रमाइलो भयो,’ ७० वर्षीया गायत्री श्रेष्ठले भनिन् । महानगरमै माइती र घर भएकी उनी घरायसी किचलोपछि आश्रमको शरण लिएकी हुन् । श्रेष्ठले भनिन्, ‘तीजको दुई साताअघि नै दर खुवाउने आए ।’


कतिपय आमाले तीजकै मौका पारेर कपाल पनि कालो पारेका रहेछन् । बुझ्दै जाँदा आश्रममा तीज मनाउन आएका सौन्दर्य व्यवसायी दिदीबहिनीले इच्छुक आमाहरूको कपाल रंगाइदिएका हुन् । ‘मुखमा पनि के के पोतेर चहकिलो बनाइदिने भन्दै थिए, लाज लागेर हुन्न भनिदिएँ,’ ६५ वर्षीया लक्ष्मी नेपालले भनिन्, ‘म त कहिलेकाहीँ कपालमात्र कालो पार्छु ।’
आश्रमका ५२ जनामा २८ वृद्धा छन् । यीमध्ये ११ वृद्धाको माइत र घर छैन । १३ जना एकल, नि:सन्तान र अविवाहित छन् । ४ जनाको घर र माइत पनि छ । यहाँ मारवाडी समुदायका दुई पुरुष र एक महिलाले पनि शरण लिएका छन् । शाकाहारी मेनुमात्र लागू गरेको आश्रमले बाआमालाई दिनहुँ चियाखाजा, दाल, भात, तरकारी, अचार, पनिर र दूध दही खुवाउँछ । ‘तर, बाहिरकाले यहाँ आएर खुवाउँदा माइतबाट आफन्त आएजस्तै लाग्छ,’ नेपालले भनिन्, ‘एकै दिन चार टोलीले दर खुवाए, नाचगानको कार्यक्रम गरे ।’ दिनदिनै खाँदै र नाच्दै गरेकाले थकाइ मेट्नै अब दुई दिन लाग्ने उनले बताइन् । भोजपुरकी नेपाल ७ वर्षदेखि यही आश्रमको शरणमा छिन् ।


बोल्न नसके पनि ८० वर्षीया भीमकुमारी राईले हातको इसाराले तीजमा आनन्द लागेको बताइन् । उनी ११ वर्षदेखि उक्त आश्रममा बस्दै आएकी छन् । सानैमा पहाडबाट काम गर्न मधेस झरेकी उनले शरीर चलुन्जेल घरेलु श्रमिकका रूपमा काम गरिन् । अशक्त भएपछि यहाँ आइपुगिन् ।


अशक्त भएर आठ महिनाअघि आएकी अर्की एकल महिला ५५ वर्षीया मीनु सापकोटाले हरितालिका तीजमा माइतभन्दा यहाँ मजा लागेको बताइन् । ७ वर्षदेखि माइत र घर नभएकी उनले पनि तीजको उपहारमा खण्डे ताल, कचौरा र गिलास पाएकी छन् ।


विभिन्न संघसंस्था, समाजसेवी, दाता र दयालु व्यक्तिले ९ भदौको बिहानदेखि यहाँ दर कार्यक्रम गर्न थालेको आश्रमका संस्थापक अध्यक्ष जगतप्रसाद अज्र्यालले जानकारी दिए । ‘दैनिकजसो यहाँ तीजमा भोजन र संगीतको कार्यक्रम भयो,’ उनले भने, ‘आमाहरूले माइत र घरभन्दा बढी माया पाए ।’


तीज, दसैं, तिहार, बाबुआमाको मुख हेर्ने दिन, माघेसंक्रान्ति र अन्य महत्त्वपूर्ण चाडबाडमा समेत बाआमालाई खुवाउने यहाँ आइपुग्छन् । बाबुको मुख हेर्ने दिनमा यहाँ झन्डै १५ वटा संस्थाले बिहान ५ देखि साँझ ६ बजेसम्म भोजन गराएको अज्र्यालले बताए ।


यस्ता अवसरमा उपहार दिनेको पनि कमी हुँदैन । ‘बाआमाको आवश्यकताअनुरूप पहिला नै सोधेर कपडा र खाना ल्याइदिन्छन्,’ अज्र्यालले भने, ‘नाप लिएर गई सिलाएर ल्याइदिन्छन्, कसैकसैले तयारी ल्याएर दिन्छन् ।’ योबाहेक चिकित्सक, सौन्दर्य व्यवसायी र योगगुरुहरूले पनि विभिन्न अवसरमा वर्षभरि कार्यक्रम गरिरहेको उनले बताए ।

समाचार

१२ वर्षमा बिहे, २५ वर्षमै ४ सन्तान

- शाहीमान राई
धनुषाको कमला नगरपालिका ७, हठमुण्डाकी २५ वर्षीया रामप्यारी सदा आफ्ना र छिमेकीका बालबच्चासहित । तस्बिर : शाहीमान

(जनकपुर)- महोत्तरीको भंगाहा नगरपालिका ३ हात्तीसर्वाकी रीतादेवी सदाको १२ वर्षकै उमेरमा बिहे भयो । आफूभन्दा ५ वर्ष जेठो नारद सदासँग विवाह बन्धनमा बाधिएकी रीताले एक वर्ष नबित्दै पहिलो सन्तान जन्माइन् । उनी १३ वर्षमा आमा बनिन् । अहिले २५ वर्षकी भइन् र ४ सन्तानलाई लालनपालन गर्दैछिन् ।


आफ्ना छिमेकी अदालतका एक कर्मचारीले नखाएको ऋण तिर्न धम्की र दबाब दिएपछि पत्रकारसित हारगुहार गर्न ६ महिने बालक च्यापेर जनकपुर आएकी रीतादेवीले छोराछोरीको पालनपोषण, लत्ताकपडा र पढाइ खर्च जुटाउनै गाह्रो भएको सुनाइन् ।


एक धुर ओइलानी जग्गामा बनाएको छाप्रोमा बस्ने उनले चार सन्तानसहित जीवनयापन गर्न कठिन भएको बताइन् । निरक्षर सदा परिवारलाई पालनपोषण गर्न रीताका पति ३० वर्षीय नारद रोजगारीका लागि विदेशमा श्रम गर्दैछन् । सानैमा आमा गुमाएकी उनलाई पढ्ने वातावरण मिलेन । बरु बिहेको बाटो रोजियो । उनको पहिलो छोरी खुश्वु ८ वर्षकी, दोस्रो मौसम ६ वर्ष, कान्छी कनिका २ वर्षकी र छोरा ६ महिनाको अनिकेश छन् ।


शिक्षित बन्न र रोजगारी पाउन छोराछोरीलाई पढ्नैपर्ने भएकाले छोरीहरूलाई स्कुल पठाउन थालेको उनले बताइन् । पढ्नुपर्छ भन्ने चेतना भए पनि आर्थिक अभावले पढाउन सक्दैनौं,’ उनले भनिन्, ‘शुल्क तिर्न नपरे पनि कापीकलम, खाजानास्ताका लागि रकम जुटाउन मुस्किल छ ।’


धनुषाको कमला नगरपालिका ७ हठमुण्डाकी २५ वर्षीया रामप्यारी सदाले ५ सन्तान जन्माइसकेकी छन् । उनको पनि १२ वर्षमै बिहे भएको थियो । बर्सेनि जन्मिएका र उस्ताउस्तै देखिने उनको ९ वर्षीय जेठो र ८ वर्षीय माइलो छोरा नजिकैको कमला नदी किनाराको ससाना खोला, दह, पोखरीमा माछा मार्न जान्छन् । अरू साथैमा ३ सन्तानसहित भेटिएकी रामप्यारीले छोराछोरीलाई स्कुल पठाउन नसकेको बताइन् ।


उनका पति किसनले बनिबुतो गरेर मुस्किलले दालभात जुटाइरहेको बताइन् । महोत्तरी भंगाहाकी रीतादेवी र धनुषा हठमुण्डाकी रामप्यारी गरिब तथा दलित मुसहर समुदायको पात्रमात्र हुन् । गरिबी, अशिक्षाको चपेटामा परेका उनीहरू वर्षौंदेखि घरवारविहीन छन् । उनीहरूको नाममा एक टुक्रा पनि जमिन छैन । उनीहरू जस्तै तराईमा बसोबास गर्ने अधिकांश गरिब, दलित मुसहर, डोम, चमार र मेस्तर समुदाय चरम गरिबी र अशिक्षाले कष्टपूर्ण जीवन बिताइरहेका छन् ।


चेतना अभावले उनीहरू गर्भवती जाँच गर्न स्वास्थ्य संस्थासम्म जाँदैनन् । ‘बिरामी पर्दा या सुत्केरी गराउन उनीहरू अस्पताल जाँदैनन्,’ जनकपुरकी सामाजिक अभियन्ता जमुना भुजेल भन्छिन्, ‘बच्चा जन्माइसकेपछि खोपसम्म लगाउँदैनन् ।’


उनीहरू जस्तै दलित परिवारमा ७, ९, ११ जनासम्म सन्तान जन्माउने धेरै महिला छन् । कमजोर आर्थिक अवस्थाका कारण औषधि, गाडी भाडा, अस्पतालमा शुल्क र खाने, बस्ने
खर्च व्यवस्था गर्न नसक्ने भएकाले सुत्केरी हुन अस्पताल नगएको रीतादेवीले सुनाइन् ।


उनले स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले ५ सय रुपैयाँ यातायात खर्च दिने गरेकोसमेत थाहा नपाएको बताइन् । कम उमेरमा बच्चा जन्माउँदा आइपर्ने स्वास्थ्य तथा शारीरिक समस्या, प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान नहुँदा घरमै सुत्केरी हुन बाध्य छन् ।


तराईमा अशिक्षित र हेपिएका दलित डोम, मुसहर र चमार समुदायका धेरै महिला प्रजनन स्वास्थ्य, जन्मान्तर, परिवार नियोजन, अस्थायी साधन प्रयोग, गर्भावस्था परीक्षण,
आइरन चक्की, खोप, सुरक्षित मातृत्वलगायत आधारभूत स्वास्थ्यबारे चेतना नभएको बताउँछन् ।

समाचार

सम्बन्धविच्छेदविरुद्ध श्रीमतीद्वारा मुद्दा

आफूलाई थाहै नदिई श्रीमान्ले सम्बन्धविच्छेद गरेको आरोप
- प्रतीक्षा काफ्ले

 (स्याङ्जा) - श्रीमान्–श्रीमतीबीच सहमतिमा गरिएको सम्बन्धविच्छेदलाई समाजले पनि सामान्य रूपमा लिन्छ । यहाँकी एक महिलाले भने श्रीमान्ले सम्बन्धविच्छेदको जानकारी आफूलाई नदिएको भन्दै मुद्दा हालेकी छन् ।


झुटा विवरण बनाई श्रीमान्ले एक्लै सम्बन्धविच्छेद गरेको भीरकोट नगरपालिका ३ की ५० वर्षीया मीनाकुमारी क्षेत्रीले बताएकी छन् । सम्बन्धविच्छेद गर्न श्रीमान्/श्रीमती दुवैको सहमति हुनुपर्नेमा आफूलाई थाहै नदिई जालसाजी गरेर श्रीमान् मोहनकुमार क्षेत्रीले सम्बन्धविच्छेद
गराएको भन्दै उनले जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी हुन् ।


फैसला हक कायम गरिपाउँm, जालसाजी र लिखित गाली बेइज्जती गरी उनले अदालतमा गत सोमबार तीनवटा मुद्दा दर्ता गराएकी हुन् । ‘०४६ माघ १६ गते हाम्रो मागीविवाह भएको हो,’ उनले भनिन्, ‘मलाई थाहै नदिई श्रीमान्ले गलत नियतले सम्बन्धविच्छेद गरेकाले मुद्दा हाल्न बाध्य भएँ ।’ श्रीमान्ले खान, लाउन नदिने र कुटपिट गर्ने गरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुई छोरीलाई पढाउँदै आएको उनले बताइन् । ०५७ माघ २९ मा जेठी छोरीको विवाहपछि मीना र कान्छी छोरी बस्दै आएका थिए । गत असार ११ मा जिल्ला अदालतमा कान्छी छोरी कृष्टिका नामबाट बाबुविरुद्ध माना चामल र अंशको मागसहित मुद्दा दर्ता गर्न आउँदामात्रै आफ्नो श्रीमान्सँग सम्बन्धविच्छेद भइसकेको थाहा पाएको उनले बताइन् । ‘मलाई थाहै नदिई कसरी हुन्छ सम्बन्धविच्छेद ?,’ उनले भनिन्, ‘अदालतमा आएपछि मात्रै थाहा पाएँ, अनि वकिलसँग सल्लाह गरेर मुद्दा हालेँ ।’ मीनाले आफू र कान्छी छोरीले नाता कायम गरी अंश पाउनुपर्ने बताइन् ।


मीनाको बिरुवाअर्चले–६ का राजेन्द्र अधिकारीसँग ०५५ फागुन १३ मा अर्को विवाह गरेको प्रमाण खुल्ने कागजातसहित मोहनले पेस गरेपछि अदालतले सम्बन्धविच्छेदको फैसला गरेको जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले बताए । १८ वर्षपछि मोहनले ०७३ साल भदौ १६ मा स्वत: सम्बन्धविच्छेदको फिरादपत्र दायर गरेको अभिलेख अदालतमा छ ।
मीनाले अर्को विवाह गरेर गएको फिरादपत्रमा देखिएपछि अदालतबाट म्याद जारी गरी सूचना लिएर जाँदा ठेगानामा उनलाई नभेटिएपछि सूचना पीपलको रूखमा टाँगिएको बताउँदै न्यायाधीश अधिकारीले अदालतबाट दोस्रोपटक ०७३ पुुस १५ मा पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिक पत्रिकामा म्याद जारीको सूचना गरेको बताए । ‘जिल्ला प्रशासनबाट ल्याएको पत्र पनि छ,’ उनले भने, ‘हामीले प्रशासनका पत्रलाई अविश्वास गर्ने कुरा भएन ।’ साक्षी बुझिएको, प्रतिउत्तर नआएको र आवश्यक कागजात पुगेकाले अदालतले नियमानुसार फैसला गरेको उनले बताए ।


प्रक्रिया पुर्‍याएर ०७४ वैशाख ६ मा अदालतले सम्बन्धविच्छेदको फैसला गरेको जनाए पनि ती सबै नक्कली भएको भन्दै मीनाले नक्कली कागजात बनाउन सहयोग गर्ने सबैलाई कारबाही गर्नुपर्ने माग गरिन् । ‘मेरो दोस्रो बिहे भएकै छैन,’ उनले भनिन्, ‘बरु मोहनले नै कान्छी ल्याएका छन् । उनले सन्तान पनि जन्माएकी छन् ।’

Page 13
समाचार

बन्दरगाहको नाका खुल्यो, बाटो छैन

- आनन्द गौतम
ताप्लेजुङमा उत्तर–दक्षिण लोकमार्गको निर्माणाधीन सडक ।तस्बिर : आनन्द

 (ताप्लेजुङ) - चीनले ओलाङचुङगोलालाई समुद्री बन्दरगाहसम्म पुग्ने नाकाको रूपमा खुलाए पनि त्यहाँसम्म पुग्ने सडक अव्यवस्थित छ । ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि चीनको तिब्बतसँग सिमाना जोड्ने सडक निर्माणको काम १२ वर्षमा बल्ल ४४ किलोमिटर मात्र भएको छ ।


सुकेटार विमानस्थलबाट सुरु भएको ट्रयाक खोल्ने काम फक्तालुङ गाउँपालिका ६ लेलेप पुगेको छ । अब ३० किलोमिटर ट्रयाक खोल्न बाँकी छ । बनाइएको स्थानमा सडक निकै साँघुरो छ । सुकेटारदेखि रानीपुलसम्मको ४० किलोमिटर सडक यसअघि नै निर्माण भएको हो । यो वर्षदेखि कामको जिम्मा काठमाडौंको एलाइट निर्माण कम्पनीलाई दिइएको छ । उसले
३९ करोड ७६ लाखमा कामको जिम्मेवारी पाएको हो ।


यो रकमले ओलाङचुङगोला पुग्नेमा ठेकेदार कम्पनी नै विश्वस्त छैन । निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछाने बाटोमा पर्ने चट्टानमा भरपर्ने बताउँछन् । ‘खन्दै जाँदा कस्तो चट्टान निस्कन्छ त्यसमा भर पर्छ,’ उनले फोनमा भने, ‘सामान्य खाले चट्टान निस्कियो भने ओलाङचुङगोलाको बस्तीसम्म पुग्न पनि सक्छ, कडा निस्कियो भने यसै भन्न सकिन्न ।’
कम्पनीले जिम्मेवारी पाएपछि रानीपुलदेखि साढे ४ किलोमिटर ट्रयाक खोलेको छ । चट्टान नभएको यो सडक निर्माणमा दुई करोड रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । अब निर्माण हुने सडकको चौडाइ १० मिटर बनाउन प्राविधिकले अनुमति दिएका छन् । पहिला खनिएका सडकको चौडाइ भने ठूला सवारी चल्ने अवस्थाको छैन ।


यो खण्डमा सबैभन्दा बढी चट्टान लुङथुङदेखि छ । टासीगाउँ र लुङथुङको बस्तीपछि धेरै चट्टान रहेको राजीव बताउँछन् । यहाँ भने ब्लास्टिङ हानेरै फुटाउनुपर्ने भएकाले धेरै खर्च हुनसक्ने कम्पनीको अनुमान छ । ओलाङचुङगोलाका बासिन्दाले भने गोलाको बस्तीबाट पनि ट्रयाक खोल्न अनुरोध गरेका छन् ।


मेसिन नेपालबाट लैजान सक्ने भए पनि डिजेल ल्याउन समस्या हुने भएकाले कम्पनीले मेसिन लगेको छैन । स्थानीयले उपभोक्तालाई जिम्मा दिएर काम गराउन अनुरोध गरिरहेका छन् ।
नेपाल र चीनको सिमाना टिप्ताला भन्ज्याङदेखि गोलाको बस्तीसम्म यसअघि नै स्थानीयले ट्रयाक खोलेर सडक जोडेका छन् । ओलाङचुङगोलामा जन्मेर देशविदेशमा बसेकाहरूले रकम संकलन गरेर २४ किलोमिटर सडक निर्माण गरेका हुन् । तर बीचमा पुल र सडक मर्मत नहुँदा अहिले सडक नचल्ने अवस्थामा पुगिसकेको छ ।


सडकको मर्मत तथा पुल निर्माणमा सरकारले बेवास्ता गरेको छ । अहिले खोलिएको ट्रयाकमा फक्तालुङ गाउँपालिका ५ र ६ नम्बर वडाको लेलेप र तापेथोक जोड्ने तमोर नदीमाथि ठूलो पुल बनाउनुपर्छ । सिसेवा, तावा, थिवा, सिस्नेखोला, हाङदेवा, फुरुम्बु खोलामा पुल बनाउनु अनिवार्य छ । अहिलेसम्म फुरुम्बु खोलामा मात्रै पुल बनाइएको छ । ट्रयाक खोल्दा तीनदेखि छ मिटरसम्मको मात्रै भएकाले माथिबाट ढुंगा झरे पनि सडक अवरुद्ध हुने गरेको छ ।


आयोजना रातो किताबबाटै हट्यो
उत्तर–दक्षिण लोकमार्ग आयोजनालाई सरकारले ‘रातो किताब’ बाटै हटाइदिएको छ । वर्तमान अर्थमन्त्रीको बजेट वक्तव्यमा प्राथमिकतामा नपरेको सडकका लागि यो वर्ष बजेट नछुट्याइएको हो । यही सडकको नाममा १२ वर्षअघि खोलिएको उत्तर–दक्षिण लोकमार्ग आयोजनाको कार्यालय पनि बस्ने कि उठ्ने अन्योलमा छ ।

समाचार

सुन तस्करी र हत्या प्रकरण: थुनामा राख्ने आदेश सदर

- कान्तिपुर संवाददाता

विराटनगर (कास)– संगठित अपराध, सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका थप ३ अभियुक्तलाई उच्च अदालत विराटनगरले थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालत मोरङले यसअघि गरेको आदेश सदर गर्दै उच्चले यस्तो आदेश दिएको हो ।


न्यायाधीश थीरबहादुर कार्की र हरिप्रसाद भण्डारीको इजलासले बिहीबार डीएसपी सञ्जयबहादुर राउतलाई थुनामा राख्ने आदेश सदर गरेको हो । यसअघि बुधबार र मंगलबार अभियुक्तहरू तुलाराम थारू र लाक्पा शेर्पालाई पनि थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतले सदर गरेको थियो ।


यसैगरी यो मुद्दामा अरू ३ अभियुक्तलाई थुनामा राख्न मातहत अदालतले दिएको आदेश बेरीतको नभएको भन्दै उच्च अदालतले सदर गरेको थियो । अभियुक्तहरू पुण्यप्रसाद लामा, सम्बिर तोलाङगे र राजन कुमारको हकमा उच्च अदालतले जिल्लाकै सदर गर्दै आदेश बेरीतको नभएको ठहर्‍याएको हो ।


मुख्य न्यायाधीश कुलरत्न भुर्तेल र उमेशकुमार सिंहको इजलासले लामा र तोलाङगेको मुद्दामा सुनुवाइ गरेको थियो । त्यसैगरी हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको इजलासमा राजनकुमारको मुद्दा सुनुवाइ भएको थियो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि त्यसबेला प्रचलित मुलुकी ऐन अदालती बन्दोबस्तको १७ नम्बरबमोजिम अभियुक्त कामतर्फबाट कानुन व्यवसायीले उच्च अदालतमा निवेदन दिएका थिए ।


जिल्ला अदालतको आदेश बेरीतको भएको भन्दै उनीहरूले आदेश बदर गर्न माग गरेका थिए । अभियुक्तहरू डीआईजीहरू गोविन्द निरौला र श्याम खत्री, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतका तर्फबाट कानुन व्यवसायीहरूले उच्च अदालतमा निवेदन दिएका थिए । ती निवेदनमा सुनुवाइ हुन बाँकी रहेको अदालतले जनाएको छ ।

समाचार

‘जनसत्ता’ को विद्युत् ले लाभ

- कान्तिपुर संवाददाता

रुकुम पूर्व (कास)– तत्कालीन विद्रोही माओवादी र राज्यपक्षबीच लडाइँ सकिएर शान्ति प्रक्रिया सुरु भएको दशक बितिसक्यो । यसबीच धेरै परिवर्तन भए । तत्कालीन माओवादीले सशस्त्र युद्धका क्रममा धेरै ठाउँमा भौतिक संरचना निर्माण गरेको थियो । त्यस क्रममा विद्यालय, सहिदगेट, कम्युन, चौतारा, विद्युत्गृह बनाए । माओवादीले सञ्चालन गरेका त्यस्ता धेरै संरचना हराए, यहाँको एक आयोजना भने सञ्चालनमा छ ।


सिस्ने गाउँपालिका २, छिपखोला तथा साबिकको प्वाङ गाविस १ मा माओवादीले बनाएको विद्युत् आयोजना अहिले पनि सञ्चालनमा छ । स्थानीय ३७ घर तथा माओवादीले चलाएको कम्युनका लागि उज्यालो बाँड्न विद्युत् उत्पादन सुरु गरिएको थियो । त्यसबाट अहिले पनि ४० परिवार लाभान्वित छन् । छिपखोलाको विद्युत् ०६२ साउनमा उत्पादन सुरु भएको थियो । ०६१ बाट थालिएको योजना एक वर्षमा निर्माण पूरा भएको थियो । १२ लाख रुपैयाँ खर्चेर तत्कालीन जनसत्ताले बिजुली निकालेको स्थानीय धनबहादुर पुनले बताए ।


‘हामी ३७ घरले केही दिन श्रमदान गर्‍यौं । प्रतिघर २ हजारका दरले लगानी गरेका थियौं,’ उनले भने, ‘बाँकी लगानी तत्कालीन पार्टी सत्ताले गरेको थियो ।’

समाचार

यात्रु तानातान गर्दा मुद्दा

- कान्तिपुर संवाददाता

सुर्खेत (कास)– सहरका ठूला बसपार्क होऊन् वा राजमार्ग छेउछाउका बस स्टप । यातायात व्यवसायी/मजदुरको तानातानीले यात्रु आजित हुने गर्छन् । यात्रुलाई जबर्जस्ती गाडी चढाउने, सिटभन्दा बढी राख्ने, गालीगलौजको भाषासमेत प्रयोग हुने गरेको छ ।


सुर्खेत प्रहरीले भने त्यसरी जबर्जस्ती गर्नेविरुद्ध कानुनी कारबाहीको प्रक्रिया थालेको छ । यात्रुमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले अदालतबाट म्याद लिई मुद्दाको तयारीसमेत गरेको छ ।


नयाँ जारी मुलुकी अपराध संहिताअनुसार कारबाही थालिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामसिंह चौधरीका अनुसार बुधबार पक्राउ परेका ७ जनालाई संहिताको ‘अभद्र व्यवहार गर्न नहुने’ महलअन्तर्गत मुद्दा चलाउन लागेको हो । बिहीबार अदालतबाट ७ दिनको म्याद लिई थप थुनामा राखिएको छ ।


आरोप प्रमाणित भए उनीहरूलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ । ‘हामीले भिडियो फुटेजसहित उनीहरूलाई पक्राउ गरेका हौं,’ डीएसपी चौधरीले भने, ‘त्यसैले कारबाही हुने निश्चित छ ।’


बुधबार बिहान जिल्ला प्रहरी, नगर प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले सुर्खेत बसपार्कबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्ने यातायात मजदुर सुर्खेत वीरेन्द्रनगर ९ का चक्रबहादुर शाही, गुर्भाकोट ६ का महेश सोमैमगर, कालिकोट खाँडाचक्र १ का अर्जुन मल्ल, जुम्ला डुम्रीका रमेश शाही र अछाम तुर्माखाँद गाउँपालिका ७ का नमराज न्यौपाने रहेका छन् ।


सार्वजनिक यातायात क्षेत्रका कर्मचारीहरूले बसपार्कमा यात्रु तानातान गर्ने गरेको गुनासो बढेपछि प्रहरीले कडाइ गरेको डीएसपी चौधरीले बताए । आफ्नो गाडी नचढ्ने यात्रुलाई दुव्र्यवहारसम्म गर्ने गरेको गुनासो प्रहरीकहाँ बारम्बार आउने गरेको थियो । प्रहरीले यसअघि २०७४ फागुनमा समेत यात्रुमाथि दुव्र्यवहार गर्ने ९ जनालाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाएको थियो । उनीहरू जिल्ला प्रशासन कार्यालयबाट सजाय पाई मुक्त भएका थिए । ‘अहिले नयाँ कानुनअनुसार कडा कारबाही हुन्छ,’ डीएसपी चौधरीले भने, ‘यातायात क्षेत्रमा देखिएको विकृति न्यून गर्न यस्तो कदम चालिएको हो ।’

समाचार

शिक्षक छनोटमा विवाद

- कान्तिपुर संवाददाता

जाजरकोट (कास)– आफूले चाहेको व्यक्तिलाई शिक्षक बनाउन नसक्ने अवस्था आएपछि छनोट प्रक्रिया छाडेर व्यवस्थापन समिति अध्यक्ष हिँडेका छन् । बारेकोट गाउँपालिका–७, गराग्लीचौरस्थित सीता आधारभूत विद्यालयका अध्यक्ष मालबहादुर वली परीक्षा स्थलबाट शिक्षक नियुक्ति प्रक्रिया नटुंग्याई गएका हुन् ।


अध्यक्ष आफूखुसी हिँडेपछि प्रधानाध्यापक रत्नबहादुर थापाले बुधबार स्थानीय प्रशासन गुहारेका छन् । विद्यालयको आधारभूत तहको अंग्रेजी विषय शिक्षण सिकाइ अनुदान कोटाको शिक्षक छनोटका लागि लिइएको लिखित परीक्षाको परिणामपछि अध्यक्ष वली भागेको प्रअ थापाले बताए । गत आइतबार शिक्षा विकास तथा समन्वय इकाई खलंगामा उक्त शिक्षक छनोटका लागि लिखित परीक्षा भएको थियो । लिखितको नतिजा शिक्षक बनाउन चाहेको उम्मेदवारको पक्षमा नआएपछि व्यवस्थापन समिति अध्यक्ष वली अन्तर्वार्ता छाडेर हिँडेका हुन् । आठ परीक्षार्थीमध्ये लिखितमा मोहन विक, धर्मराज थापा र गोपाल थापा छनोट भएका थिए । गत सोमबार अन्तर्वार्ता राखिएको थियो । अध्यक्ष वली भने अन्तर्वार्ता नै नगर्ने भन्दै हिँडेपछि छनोटमा समस्या भएको प्रअ थापाले बताए । लिखितमा चाहेको उम्मेदवार गोपाल थापाभन्दा अन्यले धेरै अंक फरक पार्दा मौखिकमा उनलाई अधिकतम अंक दिँदा पनि शिक्षक नबन्ने देखेपछि वली प्रक्रियाबाटै भागेको प्रअको आरोप छ । विद्यालयलाई दक्ष शिक्षक राख्न खोज्दा अध्यक्षले नमानेको प्रअ बताउँछन् ।


शिक्षा ऐन नियमावलीअनुसार व्यवस्थापन समिति अध्यक्षको संयोजकत्वमा ५ सदस्यीय अस्थायी/करार शिक्षक छनोट समिति रहने व्यवस्था छ ।

Page 14
समाचार

बाढीले बगाएर ४ को मृत्यु

- आश गुरुङ
लमजुङमा भीषण वर्षापछि बाढीपहिरोले घाइते भएका स्थानीयलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिँदै ।तस्बिर : आश 

 (लमजुङ) - भीषण वर्षाका कारण जिल्लामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । बाढीले बगाएर हराइरहेका मस्र्याङ्दी गाउँपालिका ३, अर्खले बेंसीकी ५५ वर्षीया ललितमाया गुरुङको शव बिहीबार बिहान प्रहरीले घटनास्थलबाट निकालेको हो ।


सोही स्थानमा बुधबार हराएका मस्र्याङ्दी गाउँपालिका ४, नासकुचेका अन्दाजी ५५ वर्षीय तुलसी भनिने राजु लामा अझै फेला परेका छैनन् । बाख्रा चराउँदै गर्दा बुधबार दिउँसो पहिरो आएपछि भाग्ने क्रममा ढुंगाले लागेर मस्र्याङ्दी ५ घर भई हाल मस्र्याङ्दी ५ श्रीचौरमा बस्दै आएकी ४८ वर्षीय विष्णुकली गुरुङको मृत्यु भएको थियो । पहिरोले पुरिँदा मस्र्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारीका ६० वर्षीया अतिरूपा थापा र उनकी ९ वर्षीया नातिनी सिरस थापाको मृत्यु भएको थियो । यस्तै, दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माणाधीन पावरहाउसमा कार्यरत बर्दिया जिल्ला ठाकुरद्वार नगरपालिका ५ का ३० वर्षीय बलिराम चौधरी र २५ वर्षीय लक्ष्मीप्रसाद थारूको अवस्था अज्ञात छ । उनीहरूलाई मस्र्याङदी नदीले बगाएको थियो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पहिरोमा फसेका र घाइते सबैको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको बताए ।


उनका अनुसार बेंसीसहरदेखि नै पहिरो गएको ठाउँसम्म सडक अवरुद्ध छ । ‘सुरुमा नेपाली सेनाको ठूलो हेलिकप्टरमार्फत उद्धार प्रयास गर्‍यौं । सबै भिरालो ठाउँ भएकाले पहिले एकजनाको मात्र उद्धार गर्न सक्यौं । पछि सानो हेलिकप्टरमार्फत सबै घाइतेको उद्धार गर्‍यौं,’ उनले भने । मृतक भएकै ठाउँमा डाक्टर पुर्‍याएर मृतकको पोस्टमार्टम गरिएको छ । पहिरोमा फसेका करिब ३० जनालाई रामबजारको सुरक्षित स्थानमा लगिएको छ । बाढीपहिरोपीडितलाई खाद्यान्नलगायत राहत वितरण गरिएको छ । श्रीजंग गणका गणपति शिखर जबराले हेलिकप्टरमार्फत सबै घाइतेलाई उद्धार गरिएको बताए ।


डीएसपी यादव ढकालका अनुसार पहिरोमा परेर मस्र्याङदी गाउँपालिकाका विभिन्न गाउँका १० जना घाइते भएका छन् । खुट्टा भाँचिएका अर्खलेबेंसीकी ७० वर्षीया फूलमाया गुरुङको लमजुङमा उपचार हुन नसकी चितवनस्थित चितवन मेडिकल कलेज लगिएको छ । श्रीचौरकी मेनका घले, अर्खलेबेंसीकी पार्वती गुरुङ, घोप्टेका दलबहादुर तामाङ, उरमाया तामाङ र नयनमाया तामाङको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । रामबजारका रेलकाशी गुरुङ, देवबहादुर गुरुङ, तरापु पल्लोटारीका टेकमाया खत्री, कृष्ण थापा, रसिद थापा, सिजन थापा, तनहुँ घर भएका डोजर चलाक समीर विकलगायतको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।


पहिरोले रामबजारमा ३ घर बगाएको छ । अर्खलेबेंसीमा ३ घर बगाएको छ । बाहुनडाँडामा ३ घर बगाएको छ । उक्त क्षेत्रमा विद्युत् र खानेपानी अवरुद्ध छ । बाढीपहिरोले अर्खलेबेंसीको ट्राउट माछा पनि बगाएको छ । स्याँगेको खुसीराम परियारको गोठ भत्किएर ५ बाख्रा मरेका छन् । मृतक विष्णुकली गुरुङको २७ बाख्रा हराएका छन् । पहिरोले एउटा भैंसीसमेत मरेको छ । प्रजिअ ढकालका अनुसार बिहीबार बिहानै जिल्ला विपत् व्यवस्थापन समिति, सुरक्षा समितिको बैठक बसेर खोज, उद्धार तथा क्षतिबारे बुझिएको र उद्धार गर्नुपर्नेको उद्धार भइसकेको छ । पहिरोले एउटा टयाक्टर, एउटा मिनी ट्रक, ३ जिप पुर्नुका साथै ३ मोटरसाइकल बगाएको प्रहरीले जनाएको छ ।

समाचार

व्यवसायीद्वारा सुरक्षा माग

व्यापारी हत्या प्रकरण
९० हजार रुपैयाँका लागि हत्या
गौरीगन्जमा बढयो आपराधिक गतिविधि
- अर्जुन राजवंशी

 (गौरीगन्ज, झापा)- नेपाल–भारत सीमा क्षेत्रमा हत्या, अपहरण, लागूपदार्थ कारोबारलगायत आपराधिक गतिविधि बढेको भन्दै सीमावर्ती बजारका व्यवसायीले सुरक्षा व्यवस्था कडा गर्न माग
गरेका छन् ।


जिल्लाको दक्षिण–पश्चिम गौरीगन्ज र खजुरगाछीका व्यवसायीले आपराधिक घटना वृद्धि भएकाले आफूहरू असुरक्षित भएको बताए । उनीहरूले सीमावर्ती बजार भएकाले विशेष सुरक्षा मागसमेत गरेका छन् ।


गौरीगन्ज गाउँपालिका ६ सीमा क्षेत्रनजिकै सोमबार साँझ दमक नगरपालिकाका कपडा व्यापारी खेमराज पौडेलको हत्या गरिएको थियो । व्यवसायीले खुला सीमा नाकाका कारण लागूऔषध प्रयोगकर्ताको खुलेआम आवतजावत र हत्या गरेर भारत पस्ने अवस्थाका कारण आफूहरू असुरक्षित भएको बताएका छन् ।


झापा उद्योग वाणिज्य संघ शाखा गौरीगन्जका अध्यक्ष मखना महतोले लगातारको आपराधिक क्रियाकलापले स्थानीयवासी र व्यापारी त्रसित बनेको बताए । उनले गौरीगन्जको सीमाक्षेत्र आपराधिक क्रियाकलापका लागि सुरक्षित स्थान बन्दै गएकामा चिन्ता व्यक्त गरे । गौरीगन्ज ३ का अध्यक्षसमेत रहेका महतोले स्थानीय प्रशासनले अन्य ग्रामीण हाटभन्दा विशेष खालको सुरक्षा रणनीति अपनाउन जरुरी रहेको बताए । गौरीगन्ज बजार क्षेत्रमा तीन साताअघि एक भारतीय युवकले एक बालकलाई बन्धक बनाएर हत्या प्रयास गरेका थिए ।


लागूपदार्थ प्रयोग गरेर आएका भारत विहार किसनगन्ज जिल्ला दिगलबैंक गाउँ पञ्चायतका २५ वर्षीय ओमप्रसाद सिंहले स्थानीय १० वर्षीय सुजन ताजपुरियालाई दिउँसै एक घरमा बन्धक बनाएर हत्या प्रयास गरेका हुन् । घाँटीमा चक्कु राखेर बन्धक बनाएका कारण बालकको घाँटी र हातका औंलामा चोट लागेको थियो । ३ वर्षअघि पनि गौरीगन्जस्थित सीमा क्षेत्रमै तत्कालीन जुरोपानी गाविसका भाइकाजी अधिकारीको हत्या गरेर शव फालिएको थियो ।


‘हत्याजन्य घटनाले यो क्षेत्र पूर्णरूपमा असुरक्षित रहेको आभास हुन थालेको छ,’ गौरीगन्जका कपडा व्यवसायी शोभाकान्त दासले भने, ‘यो अवस्था स्थानीय र व्यापारीका लागि निकै दु:खद् हो । पछिल्लो हत्याकाण्डले गौरीगन्जभन्दा बाहिरका व्यापारसँग प्रत्यक्ष असर परेको छ ।’


उनले दमकका व्यवसायी पौडेलको हत्या गौरीगन्जका व्यापारीले नै गरेकाले गौरीगन्जप्रतिको मानसिकता नकारात्मक बनेको उनले बताए । व्यवसायी गंगाप्रसाद राजवंशीले लागूपदार्थ प्रयोगकर्ताको नयाँ नाकाका रूपमा गौरीगन्ज विकास भएको जनाए । उनले धरान, विराटनगरलगायतका युवाले गौरीगन्जलाई लागूऔषध उपलब्ध हुने नाकाका रूपमा लिन थालेको बताए ।


गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले सम्बन्धित निकायले ध्यान नदिँदा गौरीगन्जको सुरक्षा व्यवस्था कमजोर बनेको टिप्पणी गरे । उनले आपराधिक गतिविधिका लागि गौरीगन्ज ‘ट्रान्जिट’ बन्नु दु:खद् भएको बताए । श्रेष्ठले पौडेलको हत्याले व्यवसायीमात्र नभई सबै त्रसित बनेको बताए । ‘खुलेआम अवस्थामा व्यवसायीको हत्या हुनुले सबैलाई त्रसिद बनाएको छ,’ उनले भने, ‘यसले हामी कति सुरक्षित छौं र यहाँको अवस्था कस्तो छ भन्ने स्पष्ट भयो छ ।’


उनले गौरीगन्ज खुला सिमानामा भएको सीमावर्ती बजार हुँदा सुरक्षा निकायले यहाँको सुरक्षा व्यवस्थामा विशेष ध्यान र रणनीति अपनाउन जरुरी रहेको बताए । गौरीगन्ज बजारदेखि भारतीय सीमाक्षेत्र ७ किलोमिटर र नजिकैको खजुरगाछीदेखि सीमाक्षेत्र ४ किलोमिटर दूरीमा छ । सशस्त्र प्रहरी बलको सीमा सुरक्षापोस्ट सीमा नाकादेखि ५ किलोमिटर उत्तर छ ।


९० हजारले ज्यान गयो
प्रहरी नियन्त्रणमा रहेका गौरीगन्ज गाउँपालिका ६ का २८ वर्षीय सद्दाम हुसेनले दमकका व्यवसायी खेमराजको हत्या गरेको स्विकारेका छन् । जिल्ला प्रहरीले सद्दामले हत्या स्विकारेको भन्दै उनलाई सार्वजनिक गरेको छ ।


जिल्ला प्रहरी प्रमुख भीमप्रसाद ढकालले हुसेनले पौडेललाई तिर्न बाँकी ९० हजार ५ सय रुपैयाँका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । कमल गाउँपालिका ६ मंगलबारे निवासी ३८ वर्षीय पौडेलले दमक ६ मा राजदीप इन्टरप्राइजेज फर्मबाट कपडाको होलसेल पसल सञ्चालन गरेका थिए । सद्दामले उनको पसलबाट बाँकीमा कपडा उठाएर गौरीगन्ज, गौरादह, खजुरगाछी क्षेत्रमा बेच्ने गरेका थिए । पछिल्लो समय हुसेनले बाँकी उठाएको एक लाखको कपडाको ९० हजार ५ सय रुपैयाँ तिर्न बाँकी थियो । साप्ताहिक ताकेता गर्ने क्रममा ३ महिनाअघि पैसा कम्ती दिएकाले पौडेलले हुसेनलाई बजारमा पसल थापेकै स्थानमा पैसा कम भयो भन्दै हप्काएका थिए । हुसेनले सार्वजनिक स्थानमा आफ्नो बेइज्जत गरेको रिसमा पौडेलको हत्या गरेको प्रहरीसितको बयानमा भनेका छन् ।


बजार बन्द
व्यवसायी पौडेलको हत्या विरोधमा गौरीगन्जका व्यवसायीले बिहीबार पसल बन्द गरे । हत्याको विरोध तथा श्रद्धाञ्जलीस्वरूप बजार बन्द गरेको वाणिज्य संघका अध्यक्ष महतोले बताए । संघको आह्वानमा गौरीगन्ज र खजुरगाछी बजारका करिब २ सय ५० पसल बन्द रहे । यस्तै पौडेलको हत्या विरोधमा दमकका व्यापारीले मौन जुलुस प्रदर्शन गरेका छन् ।

समाचार

मनाङसँग सडक सम्पर्क टुट्यो

- कान्तिपुर संवाददाता
भीषण वर्षापछिको बाढीपहिरोले बगाएको लमजुङको मस्र्याङ्दी गाउँपालिका ४, रामबजारका घर ।तस्बिर : कान्तिपुर

लमजुङ (कास)– मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घले हिमालपारिको जिल्ला मुस्ताङ घुमेर बेंसीसहर हुँदै बुधबार मनाङ जाँदै थिए ।


करिब ३ बजेतिर मुसलधारे वर्षासँगैको बाढीपहिरोले अर्खलेबेंसीको घरसहित मानिस बगाएपछि उनी रोकिए । मनाङमा फिल्म सुटिङ गरी फर्कंदै गर्दा कलाकार रामप्रसाद गुरुङ रामबजारको बाढी र पहिरोमा रोकिए । मस्र्याङ्दी गाउँपालिका ३ देखि ४ सम्मका विभिन्न ठाउँमा पहिरो जाँदा बुधबार ४ जनाको मृत्यु भयो, एक बेपत्ता छन् । दिउँसोसम्म केही स्थानको सामान्य अवरोधबाहेक सवारी आवागमन निर्बाध थियो । चक्रीय अन्नपूर्ण पदमार्गको उक्त बाटोमा पर्यटक हिँडिरहेका थिए । करिब ३ बजेबाट मुसलधारे वर्षाले बाढीपहिरो हुँदा धनजनको क्षति भयो । सडक क्षतविक्षत हुँदा सवारी र मानिसको आवागमन पूर्ण ठप्प छ । बेंसीसहर ६, खरखरे पहिरोदेखि मस्र्याङ्दी गाउँपालिका ४, च्याम्चेसम्मको बाटोमा पहिरो जाँदा हिमाली जिल्ला मनाङसँगको सडक सम्बन्ध टुटेको छ । मनाङ र लमजुङको मस्र्याङ्दी गाउँपालिकाको आधा भागमा खाद्यान्न ढुवानी पनि ठप्प छ ।


करिब २५ देखि ३० किमि सडक ठाउँठाउँ क्षतविक्षत भएपछि तत्काल मर्मत हुने सम्भावना क्षीण बनेको छ । बीचमै रोकिएका पर्यटक तथा सर्वसाधारणको प्रहरी र सेनाले उद्धार गरेको छ । ५ वर्षअघि नेपाली सेनाले सरकारलाई हस्तान्तरण गरेको बाटो गत वर्ष अर्खलेबेंसीमा पहिरो जाँदाको करिब १० दिन बन्द र यस वर्ष भदौ २५ गते एक रात, ३ दिनबाहेक अघिपछि २४ घण्टा पनि बन्द भएको थिएन । अहिले खरखरेसँगै खुदी, भुलभुले, सिउरुङबेंसी, अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, श्रीचौर, जगत, च्याम्चेलगायत ठाउँमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । उनका अनुसार डिभिजन सडक कार्यालय र मस्र्याङ्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाका एक्साभेटर र डोजरले पहिरो पन्छाएका छन् । ‘प्रयास गर्ने हो । पूर्ण सडक कहिले खुल्छ, यसै भन्न सकिँदैन,’ उनले भने, ‘ठाउँठाउँमा विस्फोटक पदार्थ प्रयोग गरी सडक बनाउनुपर्ने हुन्छ ।’


मस्र्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले सडकमा जताततै पहिरो गएपछि मनाङ र लमजुङबीचको सडक सम्बन्ध टुटेको बताए । ‘जहाँतहीं पहिरो छ । पहिरो खुलाउन महिना दिन लाग्न सक्छ,’ उनले भने । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार पर्यटकीय मौसम सुरु भएको छ । दसैंतिहार नजिकिँदै छ । ‘पहिरोले स्थानीयलाई आवतजावतमा समस्या भयो नै । पर्यटकलाई पनि गाह्रो बनायो,’ उनले भने । उनका अनुसार पारिपट्टि बाहुनडाँडाबाट पुरानो पैदलमार्ग भए पनि सडक निर्माण भएपछि ती पदमार्ग जीर्ण बने ।

पदमार्गमा समेत पहिरो गएकाले आवतजावत गर्न सहज छैन । सेनाको हेलिकप्टरमार्फ घाइतेको उद्धार गर्नुका साथै उक्त पहिरोको बिहीबार नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङ, संविधानसभा सदस्य जमीन्द्रमान घले, गृहमन्त्रालयअन्तर्गत विपत् व्यवस्थापन महाशाखा प्रमुख सहसचिव इन्दु घिमिरे लगायतले निरीक्षण गरे । ‘बाटो तत्काल खुल्ने स्थिति छैन । केन्द्रीय तहमा पहल गर्छु,’ नेकपा नेता गुरुङले आश्वासन दिए । नेता घलेले उक्त सडक मनाङका लागि ‘लाइफलाइन’ रहेकाले यसलाई चाँडो खोल्न पहल गरिने बताए । सहसचिव घिमिरेले यस प्रकारको विपत् सहय नभएको भन्दै चाडबाड नजिकिँदै गएको बेला झन् यसले नागरिकमा थप समस्या ल्याएको बताइन् । ‘मन्त्रालयबाट सबै खालको बल प्रयोग गरी छिटो बाटो खुलाइनेछ,’ उनले भनिन् ।


करिब ६५ किमि बेंसीसहर–चामे सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमि पर्छ । मनाङतर्फ चामे नजिकै तिर्चुङाल्डामा यस वर्ष पहिरो गएर एकसाता बन्दबाहेक खासै समस्या छैन ।

समाचार

खानीगाउँका ४० घर विस्थापित

- हरिराम उप्रेती
धार्चे गाउँपालिका ७, लापुको खानीगाउँमा घरको आँगनमा परेको चिरा । तस्बिर : कान्तिपुर

 (गोरखा)- धार्चे गाउँपालिका ७, लापुको खानीगाउँमा पहिरो त्रासले ४० घरधुरी विस्थापित भएका छन् । लगातारको वर्षासँगै बस्तीको माथिबाट पहिरो चल्नुका साथै जमिन चिरा पर्न थालेपछि गाउँले डराएर सुरक्षित ठाउँमा सरेका हुन् ।


‘तीन साता भयो, नजिकैको चौरमा पाल टाँगेर सुत्न थालेका छौं,’ स्थानीय सचिन गुरुङले भने । गाउँ नजिकैको दुङसुङ खोलामा आएको बाढीले बस्ती क्षेत्र कटान गर्न थालेको उनले बताए । ४० घरमध्ये १९ घर भने भासिन सुरु भएको स्थानीय चन्द्रमान गुरुङले बताए । ‘माटो माथि आउँछ, ढुंगाहरू तल दबिन थालेको छ,’ उनले भने, ‘दबिएका घरको जस्ता झिकेका छौं । माटोको घरको काठपात झिक्न सजिलो छ, सिमेन्ट घरको त त्यही काठपात पनि झिक्न सकेका छैनौं ।’ सिमेन्ट जोडाइका घर भत्काएर काठपात झिक्न अप्ठ्यारो परेको उनले बताए । ‘माटो दबिँदै गएको छ, पक्की घरभित्र छिर्न पनि डर भयो,’ उनले भने । वैकल्पिक स्थानमा बसोबासका लागि सरकारले व्यवस्था गरिदिए पुरानो घरका काठपात प्रयोग गर्न मिल्ने भन्दै सुरक्षित राखिएको
स्थानीय बताउँछन् ।


बस्ती माथिको जंगल डाँडामा ठाउँ–ठाउँमा पहिरो गएपछि स्थानीय त्रसित भएका हुन् । ‘धेरै ठाउँ भासिएको छ,’ गुरुङले भने, ‘कतिखेर पहिरो जान्छ थाहा हुँदैन । त्यही भएर स्कुल नजिकैको सम्म ठाउँमा पाल टाँगेर बसेका हौं ।’ उक्त गाउँमा ८३ घर छन् । विस्थापित भएका केही भने आफन्तका दलीन, गोठ र डेमो हाउसमा दैनिकी कटाइरहेका छन् । घरमा भएका अन्नपात र लत्ताकपडा भने सुरक्षित ठाउँमा सारिसकेको उनले बताए ।


अविरल वर्षापछि साउन पहिलो साताबाट खानीगाउँमा पहिरो जान थालेको स्थानीय बताउँछन् । बाढीसँगै दुङसुङ खोला बढेपछि करिब १० रोपनीमा लगाइएको अलैंची खेती बगाएको गुरुङले बताए । ‘गाउँभन्दा माथिको करिब २ रोपनी अलैंची पहिरोले पुर्‍यो, गाउँभन्दा यताको अलैंची पनि बगायो,’ उनले भने । अविरल वर्षाले स्थानीयलाई मकै भण्डारणमा पनि समस्या परेको छ । ‘घर छाडेर हिँड्नुपर्‍यो, राख्ने ठाउँ नभएर मकै भाँचेर बारीमा छाड्यौं । अहिले ओस लागेर बिग्रन थालेको छ,’ उनले भने । वर्षभरि खाने मकै सुरक्षित राख्न नसक्दा गाउँले चिन्तित भएको उनले बताए ।


खानीगाउँबाट डेढ घण्टा पैदल दूरीको लापुस्थित कालरात्रि माविमा पढ्न ४० विद्यार्थी जाने गरेका छन् । पहिरोले मूलबाटो भासिएपछि विद्यार्थीलाई स्कुल आउजाउमा पनि समस्या भएको छ । केहीलाई अभिभावकले डेरा खोजेर उतै राखेका छन्, केहीले डेरा नपाएपछि कक्षा छुटेको छ । लाप्राक, गुम्दा र यमगाउँ जाने पैदलमार्गको ठाउँ–ठाउँमा पहिरो गएपछि गाउँले आत्तिएका छन् ।

समाचार

कार्यालयमै बसेर काज भत्ता

- कान्तिपुर संवाददाता

ओखलढुंगा (कास)– नापी कार्यालय प्रमुख इन्द्रकुमार साहले कार्यालयमै बसेर
काज लेख्दै भत्ता लिएका छन् । उनले भत्ताकै लागि यसो गर्ने गरेको आरोप छ । अन्य कर्मचारी फिल्ड पठाएर आफ्नोसहित काज लेखेर भत्ता लिने गरेको अरू कर्मचारी बताउँछन् ।


भदौ १० देखि १५ सम्म चिसंखुगढी र मानेभन्ज्याङ गाउँपालिकाको जग्गा कित्ताकाटका लागि चार कर्मचारी फिल्डमा पठाएका थिए । तर उनले हाजिरीमा ६ दिनको ‘फिल्ड काज’ लेखेका छन् । त्यस अवधिमा साह कार्यालयमै थिए । चिसंखुगढी गाउँपालिकामा देवबहादुर खड्का र दीपक न्यौपानेलाई फिल्ड खटाइएको थियो । मानेभन्ज्याङमा गणेश विक र बाबुराम केसी गएका थिए । फिल्ड गए पनि देवबहादुर खड्काले काज भत्ता पाएनन् । उनको सट्टा नापी अधिकृत साहले काज लेखेर भत्ता लिए । कार्यालयकै कर्मचारीहरू प्रमुख साहले काज लेखेको अवधिमा कार्यालयमै रहेको बताउँछन् । ‘हाकिमलाई हामीले कार्यालयमै देखेका हौं,’ एक कर्मचारीले भने, ‘त्यसबीचमा उहाँ कतै जानुभएको थाहा छैन ।’


उनले हाजिरीमा काज लेखेकै अवधिमा जग्गा पास गर्न कित्ताकाट गर्न पठाइएका लिखतहरू प्रमाणित गरेका छन् । प्रमुख साहले प्राविधिकको काम र कार्यालयको काम दुवै भ्याउनुपर्ने भएकाले व्यावहारिक रूपमा यस्तो देखिएको बताए ।


‘भत्ता लिने उद्देश्यले यस्तो गरेको होइन । फिल्डमा पुगेकै हो,’ उनले भने, ‘कार्यालयका कतिपय काम म आफैं नहुँदा रोकिने अवस्था हुने भएकाले अलिकति फिल्डको काम भ्याएर कार्यालयको काम पनि गरेको हुँ । सेवा धेरै दिन खोज्दा उल्टै बदनाम गर्ने कोसिस भएको छ ।’


नापीले फिल्ड रेखांकन, दूरी प्रमाणितलगायत काममा राजस्वको रसिद काट्नुपर्ने नियमविपरीत काम गर्ने गरेका छन् । सरकारले तोकेको दूरीअनुसार राजस्व लिनुपर्नेमा सेवाग्राहीसँग सीधै रकम लिने गरेका हुन् ।


आर्थिक वर्ष ०७४/७५ मा दूरी प्रमाणित गर्न काठ कटान तथा छपान, फर्निचर उद्योग सञ्चालनलगायतका काममा नापी कार्यालयले १ सय ३० भन्दा बढी कित्ताको दूरी प्रमाणित गरेको छ । दूरी प्रमाणित भएका कुनै काममा हालसम्म राजस्व दाखिला भएको छैन । काठ निकासीको काम गर्दै आएका व्यवसायी रविन कार्कीले पटकपटक रकम तिरे पनि रसिद नदिएको बताए ।


यस विषयमा भने प्रमुख साहले हालसम्म आफूले राजस्व दाखिला नगरेको रकम कसैबाट नलिएको बताए । ‘राजस्व लिने चलन पहिलेदेखि नै थिएन । हामीले दूरी प्रमाणित कार्यालयमै बसेर नक्साका आधारमा गरिदिन्छौँ ।’

Page 15
अर्थ वाणिज्य

व्यावसायिक संस्थाको संख्या ९ लाख २२ हजार

३४ लाख ८ हजारलाई जागिर
नेपालको तथ्यांकीय इतिहासमा प्रथम पटक कागजी प्रश्नावलीका अलावा अनलाइन र टयाबलेट कम्प्युटरको प्रयोग गरी सर्वेक्षण
- कान्तिपुर संवाददाता

(काठमाडौं)- केन्द्रीय तथ्यांक विभागले मुलुकभर सबै प्रकृतिका व्यावसायिक संस्थाको संख्या ९ लाख २२ हजार ४ सय २५ रहेको तथ्यांक सार्वजनिक गरेको छ ।


विभागले बिहीबार राष्ट्रिय आर्थिक गणना–२०७५ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको तथ्यांकअनुसार यी व्यावसायिक संस्थाहरूमा ३४ लाख ८ हजार ७ सय ४६ जना जनशक्ति संलग्न रहेका छन् । ‘घरायसी कृषि क्षेत्रमा संलग्नबाहेक आर्थिक क्रियाकलापमा संलग्न सबै प्रकृतिको व्यावसायिक संस्थाको तथ्यांक हो यो,’ विभागका महानिर्देशक सुमनराज अर्यालले भने, ‘यी सबै क्षेत्रलाई हामीले एकीकृत रूपमा आर्थिक इकाईका रूपमा लिने गरेका छौं ।’ दर्ता भएका कृषि, वन तथा माछापालन व्यवसाय, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा प्रशोधन क्रियाकलापहरू, निर्माण, थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको बिक्री तथा मर्मत केन्द्र, यातायात तथा गोदाम, आवास सुविधा तथा खाना व्यवस्थाका क्रियाकलापहरू, सूचना तथा सञ्चार क्षेत्र गणनामा समावेश गरिएको थियो ।


विभागका अनुसार वित्तीय तथा बिमासम्बन्धी क्रियाकलापहरू, घरजग्गा कारोबारका कार्य, पेसागत, वैज्ञानिक तथा प्राविधिक, प्रशासनिक क्रियाकलापहरूलाई पनि गणनामा समावेश छ । मानव स्वास्थ्य तथा सामाजिक कार्य, मनोरञ्जन तथा मनोविनोद क्रियाकलापहरू पनि गणना गरिएको विभागले जनाएको छ । यी व्यावसायिक संस्थाहरूमा २० लाख ४४ हजार ९ सय ८९ जना पुरुष संलग्न छन् । महिला १३ लाख ६३ हजार ७ सय ५७ जना संलग्न रहेको तथ्यांक छ ।


गणना भएका व्यावसायिक संस्थाहरूमध्ये सबैभन्दा बढी संख्या प्रदेश ३ मा छन् । २ लाख ८२ हजार ५६ वटा व्यावसायिक संस्था र ११ लाख ९० हजार ७ सय २१ जना ती संस्थामा संलग्न रहेको उल्लेख छ ।


सबैभन्दा कम कर्णाली प्रदेशमा देखिन्छ । ४२ हजार ८ सय १७ वटा संस्था र तिनमा १ लाख ३२ हजार ४ सय २५ जना संलग्न रहेको तथ्यांकमा उल्लेख छ । सबैभन्दा बढी व्यावसायिक संस्था काठमाडौंमा र कम मनाङमा छन् ।


विभागले यस्तो गणना पहिलो पटक गरेको हो । गणनामा ४ हजार ५ सय कर्मचारीहरू संलग्न रहेको विभागले जनाएको छ । ०७५ वैशाख १ देखि जेठ ३१ सम्मको अवधिमा गणना गरेको हो । ‘नेपालको तथ्यांकीय इतिहासमा प्रथम पटक कागजी प्रश्नावली फारमका अलावा अनलाइन सर्वेक्षण र गणकमार्फत टयाबलेट कम्प्युटर प्रयोग गरी गणना गर्न सकिने विधि अपनाइएको थियो,’ तथ्यांक सार्वजनिक पछि विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यो विधि अपनाए पनि कागजी प्रश्नावली नै धेरै प्रयोग भएको छ ।


८ लाख २८ हजार ७ सय ४ वटा प्रश्नावली कागजी प्रयोग भएका हुन् । जुन ८९ दशमलव ८४ प्रतिशत हो । टयाबलेट कम्प्युटर प्रश्नावली ९ दशमलव ५२ प्रतिशत अर्थात् ८७ हजार ८ सय ५५ वटामा प्रयोग भएको छ । ० दशमलव ६४ प्रतिशत मात्रै अर्थात् ५ हजार ८ सय ८६ वटा प्रश्नावली भने अनलाइनबाट मात्रै भरियो ।

अर्थ वाणिज्य

एनसेल कर छली प्रकरण: अन्तरिम आदेशको ८ महिनापछि विवरण माग

कम्पनीलाई अपूरणीय क्षति हुने भन्दै अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले बल्ल ‘फाइल अध्ययन गर्नुपर्ने’ महसुस गर्दै विवरण झिकाउने आदेश दिएको छ
- कृष्ण ज्ञवाली,कृष्ण आचार्य

(काठमाडौंं)- रिट निवेदन दर्ता हुनसाथ एकपक्षीय सुनुवाइका आधारमा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले बल्ल एनसेल करछलीका विवरण तथा फाइल झिकाउने आदेश दिएको छ ।


एनसेल कर छली मुद्दाको अन्तरिम आदेशले साढे २३ अर्ब रुपैयाँ रकम बिदेसिएको झन्डै आठ महिनापछि सर्वोच्चले फाइल अध्ययनको आवश्यकता महसुस गरेको हो । एनसेलका आधा दर्जनभन्दा बढी मुद्दामा करदातालाई नै फाइदा पुग्ने गरी आदेश जारी गर्दै सर्वोच्चले आठ महिनाअघि बृहत् पूर्ण इजलास पठाएको थियो । उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशहरू दीपककुमार कार्की, प्रकाशमान सिंह राउत, तेजबहादुर केसी, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानको बृहत् पूर्ण इजलासले मुद्दाका फाइल झिकाउने आदेश दिएको हो ।


फाइल अध्ययनपछि यदि कर छलेको पुष्टि भएमा सर्वोच्च अदालतको आदेशबाट बाहिरिएको रकम अब फिर्ता हुने सम्भावना छैन । एनसेल कर विवाद नेपालका न्यायाधीशहरूलाई विवादको घेरामा परेको चर्चित मुद्दा हो यो । मुद्दा किनारा लगाउने क्रममा टुंग्याउनुपर्ने विवादलाई अन्तरिम आदेशमै सम्बोधन गरिदिएकाले न्यायका सामान्य सिद्धान्तमै प्रहार गरिएको भन्दै आलोचना भएको थियो ।


‘आदेश निकै अर्थपूर्ण छ,’ यो मुद्दालाई नजिकबाट नियालिरहेका एक न्यायाधीशले भने, ‘फाइल नै नहेरी संयुक्त इजलासले मुद्दामा गम्भीरता र जटिलता कसरी देख्यो, त्यो अचम्मलाग्दो हो । अन्तरिम आदेश दिने, मुद्दामा गम्भीरता देखेपछि बृहत् इजलासमा पनि पठाउने । अनि अहिले आएर फाइल अध्ययनका लागि आवश्यक ठान्नु कताकता नमिलेजस्तो देखिन्छ ।’


अन्तरिम आदेशमा हतार, सुनुवाइमा ढिलाइ
२०७४ साल असोज २ गते सर्वोच्च अदालतमा दर्ता भएको एउटा मुद्दामा पर्सिपल्ट अन्तरिम आदेश भयो । निवेदकले माग दाबीअनुसारको सुविधा पाए । त्यसपछि झन्डै ११ महिनासम्म मुद्दाको सुनुवाइ नै भएन । सर्वोच्च अदालतले गत असोज ४ गते एनसेल नेपालको एक लगानीकर्ता सिनर्जी नेपालमाथि तत्काल कर निर्धारण नगर्न ठूला करदाता कार्यालयका नाममा अन्तरिम आदेश जारी गर्‍यो । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली विदेश भ्रमणमा रहेका बेला कायममुकायम भएका दीपकराज जोशीको एकल इजलासले सुविधा र सन्तुलन तथा हदम्यादको प्रश्नको आधार देखाउँदै अन्तरिम आदेश जारी गर्‍यो । आदेशका कारण सिनर्जीमाथि ठूला करदाता कार्यालयले सुरु गरेको पुँजीगत लाभकर निर्धारण प्रक्रिया तत्कालका लागि रोकियो ।


गत वर्ष भदौ १९ गते ठूला करदाता कार्यालयले कर निर्धारणका लागि सिनर्जी नेपालका नाममा सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनाको विरुद्ध सिनर्जी नेपाल आफूमाथि गैरकानुनी रूपमा कर निर्धारण गर्न खोजिएको भन्दै रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेको थियो । २०६९ साल पुस ४ गते स्वयं कर निर्धारण गरी आय विवरण पेस गरिसकेको अवस्थामा चार वर्षपछि पुन: कर निर्धारण गर्न खोजिएको भन्ने दाबी सिनर्जी नेपालको हो ।


नेपालको करसम्बन्धी कानुनअनुसार करदाताले आफूले तिर्नुपर्ने कर स्वयं घोषणा गरी कर कार्यालयमा बुझाउनुपर्छ । कुनै उजुरी परेमा वा शंका लागेमा चार वर्षभित्र कर प्रशासनले छानबिन गरी संशोधित कर निर्धारण गर्न सक्ने व्यवस्था आयकर ऐनमा छ । तर, केही विशेष परिस्थितिमा भने चार वर्षको अवधि नाघेको अवस्थामा पनि कर परीक्षण गर्न पाइने व्यवस्था छ ।


एनसेल विवादमा ६ वटा मुद्दा
सर्वोच्च अदालतमा एनसेलको कर विवाद जोडिएका छुट्टाछुट्टै छ वटा मुद्दा विचाराधीन छन् । जसमा चारवटा मुद्दालाई एउटै समूह (लगाव) मा हालेर सुनुवाइ हुँदै छ भने एनसेलमा लगानी गरेको सिनर्जी नेपाल प्रालिको कर विवाद जोडिएको मुद्दा छुट्टै सुनुवाइ भइरहेको छ । सार्वजनिक सरोकारका रूपमा दर्ता भएका दुई मुद्दाबाहेक सबैमा अन्तरिम आदेश जारी भएको छ । ती मुद्दा अन्तरिम आदेशपछि लामो समय पेसी सूचीमा चढ्दै सर्दै आएका छन् । रेनोल्ड होल्डिङस र एनसेलले दायर गरेको मुद्दामा २०७४ साल पुस ३ गते अन्तरिम आदेश भयो भने ९ गते अन्तरिम आदेशलाई निरन्तरता दिने अर्को आदेश भयो । सुरुमा न्यायाधीश डम्बरबहादुर शाहीले अन्तरिम आदेश दिएका थिए भने ६ दिनपछि ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दियो ।


उक्त आदेशले एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको रिनोल्डस होल्डिङस लिमिटेडलाई आफ्नो लाभांश विदेश लैजान बाटो खोलिदियो । २३ अर्ब ५१ करोड रुपैयाँ रकम बिदेसिइसकेको छ ।


मुद्दा किनारा लगाउँदा गर्नुपर्ने आदेश र व्याख्या सर्वोच्च अदालतले मुद्दाको प्रारम्भिक सुनुवाइकै क्रममा गरेको थियो । सर्वोच्चले रेनोल्डस होल्डिङ्सलाई लाभांश फिर्ता लैजान रोक्नुपर्ने कुनै कारण र आधार नभएको भनी तीन वटा तर्क अघि सारेको थियो । एनसेलले कानुनी दायित्व र जिम्मेवारी पालना गरेको उल्लेख गर्दै सर्वोच्च अदालतले रेनोल्ड्स र एनसेलबाट कर लिन बाँकी नरहेको देखिएको ठम्याएको थियो । जब कि मुद्दा किनारा लगाउनुपर्दा हेर्नुपर्ने विषयवस्तुलाई अन्तरिम आदेशबाटै टुंग्याउन सकिँदैन ।


एनसेलको कर विवादमा स्विडेनको टेलिया सोनेरा ग्रुप र रेनोल्ड्स होल्डिङ्स जोडिएका थिए । सर्वोच्चले अन्तरिम आदेशमै करको दायित्व टेलिया सोनेरामा पर्ने ठम्याएको छ । ‘बिक्रेता टेलिया सोनेरा ग्रुपको स्विडेनको सम्बन्धमा परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावास कोपन हेगन डेनमार्कलाई २०७४ मंसिर २० मा लेखेको पत्रबाट टेलिया सोनेरा स्विडेनबाट नियमनअनुसार लाभकर असुल हुन नसकेकाले सो कम्पनीबाट लाभकर असुलीका लागि कूटनीतिक पहल हुनुपर्ने भन्ने उल्लेख भएको देखिएकाले’ तत्कालीन आदेशमा भनिएको थियो, ‘निवेदक कम्पनीबाट असुल गर्नुपर्ने लाभकर बाँकी रहेको भन्ने देखिन नआएको ।’ रिट निवेदन दर्ता भएको भोलिपल्ट न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।


एनसेलको लाभांश विवादमा आफूलाई अन्याय परेको भन्दै रेनोल्ड्स होल्डिङ्स सर्वोच्च अदालत पुगेको थियो । त्यही दिन एनसेलसमेत सर्वोच्च अदालत पुगेको थियो । लाभांश लैजान नपाएकाले आफूलाई अन्याय भएको रेनोल्ड्स होल्डिङ्सको दाबी थियो भने समयमा लाभांश लैजान नदिएका कारणले अतिरिक्त ब्याजसमेत दिनुपर्ने भएकाले आफूलाई ‘अपूरणीय क्षति’ हुने भन्दै दुवै निवेदकले ठूला करदाता कार्यालयको पत्र र त्यसका आधारमा राष्ट्र बैंकले जारी गरेको परिपत्रको कार्यान्वयन नगर्न/नगराउन आदेश दिन माग गरेका थिए ।


न्यायाधीशहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा समेत पठाउन आदेश दिएको थियो । पूर्ण इजलासले विवाद निरुपण गरेपछि त्यसको पुनरावलोकनसमेत हुँदैन । यही रणनीतिका साथ बृहत् पूर्ण इजलासमा मुद्दा पठाएको सर्वोच्चले अब भने फाइलको अध्ययन गर्नुपर्ने आवश्यकता महसुस गरेको हो ।


सार्वजनिक सरोकारको मुद्दासमेत अलमलमा
एनसेल र त्यसमा लगानी गर्ने कम्पनीहरूले कर छलेको भन्दै पूर्वसचिव द्वारिकानाथ ढुंगेल, पूर्व कार्यवाहक महालेखापरीक्षक सुकदेव खत्रीलगायतले सर्वाेच्च अदालतमा सार्वजनिक सरोकारको अर्को मुद्दा दर्ता गरे । निवेदनमा एनसेलले तिर्न बाँकी रहेको करिब ३९ अर्ब रुपैयाँ बराबरको लाभकर सेयरधनी र कुनै पनि विदेशी व्यक्ति/कम्पनीको नाममा हस्तान्तरण गर्न र निकासा गर्न रोक लगाउन माग गरिएको थियो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश मात्रै जारी गर्‍यो ।
यसअघि पनि एनसेल कर विवादका मुद्दाहरू सुरुमा न्यायाधीश शाहीकै इजलासमा परेका थिए । कानुनबमोजिम हुने विदेशी लगानी स्वीकारयोग्य भएको उल्लेख गर्दै रिट निवेदनमा विदेशी लगानीका नाममा कर छल्ने र मुलुकको राजस्वमा नोक्सानी हुने काम हुन लागेमा रोक्नुपर्ने उल्लेख थियो ।

Page 16
अर्थ वाणिज्य

लुम्बिनी र मुक्तिनाथ जोडिँदै

कालीगण्डकी करिडोर
- घनश्याम गौतम
गुल्मीको रिडीदेखि रुद्रवेणी खण्डमा नेपाली सेनाले निर्माण गरेको कालीगण्डकी करिडोर सडक । ३ मिटर चौडा सडक सेनाले विस्तार गरेर १० मिटर बनाएसँगै यातायात सञ्चालनमा सहज भएको छ ।
तस्बिर : कान्तिपुर

 (रुपन्देही) - गुल्मीको रिडीदेखि रुद्रवेणी सडक खण्डमा यात्रा गर्दा धेरैको मन सिरिङ्ग हुन्थ्यो । कडा चट्टाने पहरो फोडेर बनाइएको सडक साँघुरो थियो । दैनिक सञ्चालन हुने बसका एकातर्फका टायरका आधा भाग सडक किनारमा झुन्डिएका हुन्थे । त्यही सडकमा दैनिक एक सयभन्दा बढी सवारी साधन र हजारौं यात्रु ओहोरदोहोर गर्थे ।


गुल्मी र बाग्लुङ जोड्ने सडक राज्यबाटै उपेक्षित थियो । अहिले सडक १० मिटर फराकिलो भएको छ । गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुग्ने गरी ०५९ सालदेखि सरकारले करिडोर निर्माण सुरु गरेको थियो । पाँच वर्षअघि सरकारले साँघुरो सडक हुँदै रूपन्देहीस्थित भारतीय सीमा बेलहियादेखि चीन सिमाना मुस्ताङको कोराला जोड्न कालीगण्डकी करिडोर योजना ल्यायो । सडकअन्तर्गत रिडीदेखि रुद्रवेणी खण्ड सडक नेपाली सेनाको करिडोर निर्माण कार्यदलले १० मिटर चौडा बनाएको हो । सडक चौडा भएपछि त्यस क्षेत्रका तीन गाउँ र एक नगरपालिकासहित बाग्लुङका यात्रुलाई राहत मिलेको छ ।


‘वर्षौंदेखि मुटु कमाउँदै हिँडियो,’ सत्यवती गाउँपालिका १ अस्लेवाका अशोक श्रेष्ठले भने, ‘अब भने ढुक्कले बस चढेर जान सकिने भयो ।’ पहिले उक्त सडकका केही क्षेत्रलाई साँघुरे नामकरण गरिएको थियो । अब त्यही सडक फराकिलो बनेको कालीगण्डकी करिडोर सरोकार समितिका संयोजक टीकाराम ढकालले बताए । राष्ट्रिय गौरवको आयोजना करिडोरमा सेनाले झन्डै चार वर्षदेखि काम गर्दै आएको छ । निर्माण कार्यदल प्रमुख एवं इन्जिनियर रेश्मीराज भट्टराईले सेनाले निर्माण गर्दै आएको सडकको सुरु खण्ड चौडा पार्ने काम सकिएको बताए । ‘रिडीदेखि रुद्रवेणीको सात किलोमिटर खण्ड चौडा गर्ने जिम्मेवारी दिइएको थियो,’ उनले भने, ‘त्यहीअनुसार हामीले रिडीदेखि रुद्रवेणीसम्मको सडक १० मिटर फराकिलो पारेका छौं ।’


सेनाले पहिलो चरणमा सडक ७ र दोस्रो चरणमा १० मिटरको बनाएको हो । अहिले १० मिटर बनाउन झन्डै १० करोड रुपैयाँ लागेको उनले बताए । सेनाले रिडीदेखि बाग्लुङको मालढुंगासम्मकै सडकको ट्रयाक खोल्ने काम सकेर चौडा बनाउन सुरु गरेको हो । निर्माण सम्पन्न भएको खण्डको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १० मिटर चौडा बनाइएको सडकको कालोपत्रे सुरु गर्ने बताए । ‘यो राष्ट्रिय गौरवको आयोजना हो,’ उनले भने, ‘अब सरकारले छिट्टै नै कालोपत्रे पनि सुरु गर्नेछ ।’ मन्त्री ज्ञवालीले हिमालदेखि भारतको त्रिवेणीसम्म कालीगण्डकीको तिरैतिर जोडिएको यो मार्ग प्राचीन महत्त्वको भएको बताए । ‘यो पुर्खाले नुन बोक्ने रेसम मार्गका रूपमा रहेको छ,’ उनले भने, ‘यसले हिन्दुको पवित्र तीर्थस्थल मुक्तिनाथ धाम र बौद्ध धर्मावलम्बीको धार्मिक स्थल लुम्बिनीलाई पनि सीधा जोड्दै छ ।’ करिडोरको पूरै खण्ड निर्माणपछि स्थलमार्ग हुँदै बुद्धको जन्मस्थल लुम्बिनी पुग्ने चिनियाँ र मुक्तिनाथ पुग्न खोज्ने भारतीय धार्मिक पर्यटकका लागि सहज र छोटो मार्ग बन्ने उनले बताए । सेनाले सडक चौडा पार्ने काम सुरु गरेसँगै त्यही सडकबाट गुड्ने गरेका सवारी साधन तम्घास र स्याङ्जाको मिर्मी हुँदै गुड्ने गरेका थिए ।


साँघुरो बाटो फराकिलो भएसँगै सवारी सञ्चालन गर्न निकै सहज भएको जिप चालक नारायण खत्रीले बताए । ४ सय ३५ किलोमिटर लामो खण्डमध्ये बाग्लुङको मालढुंगादेखि मुस्ताङसम्म १ सय ९० किलोमिटर सडकको ट्रयाक खुलेर कालोपत्रेको काम भइरहेको छ । रिडीदेखि मालढुंगासम्मको झन्डै ८० किलोमिटरमा नेपाली सेनाले काम गरिरहेको छ । त्यस्तै गैंडाकोटदेखि गुल्मीको रिडीसम्मको १ सय ६५ किलोमिटर खण्डमा सडक विभागले काम गरिरहेको छ । पाल्पाको राम्दीदेखि अर्गलीसम्मको खण्डमा ट्रयाक खुल्न नसक्दा पूरै कालीगण्डकी करिडोरमा सवारी चल्न सक्ने अवस्था नरहेको ढकालले बताए । ‘त्यस क्षेत्रमा पनि सकेसम्म छिटो सम्पन्न गर्न दबाब दिएका छौं,’ उनले भने, ‘यस वर्ष करिडोरमा बेलहियादेखि कोरालासम्म बस चढेर जान सक्ने बनाउने गरी काम भइरहेको छ ।’

अर्थ वाणिज्य

तीन आइफोन सार्वजनिक

- कान्तिपुर संवाददाता

क्यालिफोर्निया (एजेन्सी)– आइफोन निर्माता एप्पलले तीन नयाँ आइफोन मोडल सार्वजनिक गरेको छ । कम्पनीले आइफोन एक्सएस, आइफोन एक्सएस म्याक्स र आइफोन एक्सआर नाम दिएर नयाँ आइफोन सार्वजनिक गरेको छ । आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्सको फिचरहरू समान रहेको पनि स्क्रिनको आकारमा मात्रै भिन्नता छन् । एप्पलले तुलनात्मक रूपमा सस्तो मूल्यमा आइफोन एक्सआर सार्वजनिक गरेको हो ।


यसअघि पनि एप्पलले आइफोन एसई र आइफोन फाइभ सी नाम दिएर सस्ता फोन बजार पठाएको थियो । तर, आइफोन एक्सआर फिचरका हिसाबले अन्य सस्ता मोडलभन्दा फरक हुनेछ । किनकि सस्तो मूल्यका एक्सआर आइफोनले पनि महँगा भनिएका आइफोनकै विशेषताहरू समेटेको हुनेछ ।


अघिल्लो वर्ष एप्पलले आइफोन एट, आइफोन एट प्लस र आइफोन एक्स सार्वजनिक गरेको थियो । यो वर्ष एप्पलले तीन आइफोनलाई दिएको फरक नामसँगै आइफोनको नामसँग जोडिएर आउने अंकको सिरिजको अन्त्य भएको छ ।

अर्थ वाणिज्य

सामसङको ग्यालेक्सी ए ८ स्टार

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए ८ स्टार सार्वजनिक गरेको छ । यसमा ६.३ इन्च फुल एचडी प्लस सुपर एमोलेड इन्फिनिटी डिस्प्ले रहेको जारी विज्ञप्तिमा छ । मिडनाइट कलर र आइभोरी सेतो कलरमा उपलब्ध यो फोनको मूल्य ५९ हजार ९ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

अर्थ वाणिज्य

भिभोको नयाँ फोन

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– भिभोले अल न्यु भी ११ प्रो नेपाली बजारमा ल्याएको छ । यसमा न्यु हालो फुल भ्यु डिस्प्ले रहेको जनाएको छ । नेपाली बजारमा भिभो भी ११ प्रोको बजार मूल्य ४९ हजार ४ सय ९० र भी ११ को मूल्य ३९ हजार ९ सय ९० तोकिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

एनसेलद्वारा नगद पुरस्कार

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनसेलले नजिकिँदै गरेका चाडपर्वका अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एन्ड विन’ अफरअन्तर्गत पहिलो साताका बिजेताहरूलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
कम्पनीका अनुसार ‘रिचार्ज एन्ड विन’ १० सातासम्ममा सञ्चालनमा रहने अफर हो । पहिलो साताका विजेताहरू मंगलबार (भदौ २६ गते) छानिएको जारी विज्ञप्तिमा उल्लेख छ । १० भाग्यशाली विजेतामध्ये दुई जनाले बिहीबार जनही नगद एक लाख पुरस्कार पाएको जनाएको छ ।

अर्थ वाणिज्य

नेपाल एसबीआई बैंकको फेस्टिभल बोनान्जा

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल एसबीआई बैंकले दसैं, तिहार र छठको उपलक्ष्यमा ‘फेस्टिभल बोनान्जा’ को घोषणा गरेको छ । यसअन्तर्गत बैंकले आकर्षक ब्याज दरहरूमा सजिलै होम लोन र भेहिकल लोन उपलब्ध गराउने जारी विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

लुम्बिनी इन्स्योरेन्सको शाखा थप

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– लुम्बिनी जनरल इन्स्योरेन्स आफ्नो शाखा थपेको छ । राजधानीको बौद्ध र कलंकीमा शाखा थपेको कम्पनीले जनाएको छ ।

अर्थ वाणिज्य

बजाज डिस्कभरको स्किम

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बजाज डिस्कभरले न्यूनतम डाउनपेमेन्ट स्किम सुरु गरेको छ । यो स्किमअन्तर्गत बजाज डिस्कभर खदिर गर्दा अब मात्र १९ हजार ९ सय ९९ सय रुपैयाँ न्यूनतम डाउनपेमेन्टतिर पुग्ने प्रावधान रहेको जारी विज्ञप्तिमा छ । कम्पनीका अनुसार खरिदकर्ताले हुलास इन्भेस्टमेन्टबाट शून्य प्रतिशत फाइनान्समा बजाज डिस्कभर खरिद गरी सरल किस्ताबन्दीको फाइदा लिन सक्नेछन् ।

Page 17
अर्थ वाणिज्य

‘उपभोक्ता ऐन व्यावहारिक छैन’

जरिवाना र कैद बढाउनु उचित हुँदैन : महासंघ
गल्ती नै नगरौं, जेल जान पनि पर्दैन : मन्त्री
- राजु चौधरी

(काठमाडौ) - उपभोक्ता हितमा बनाइएको प्रस्तावित कानुन व्यावहारिक नभएको गुनासो व्यवसायीले गरेका छन् । उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफलमा उद्योगमन्त्री र उद्योगीबीच घोचपेच भएको छ । उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको ‘इको टक’ मा ऐनको विषयमा मन्त्री मातृका यादव र महासंघका पदाधिकारीबीच घोचपेच भएको हो ।


‘नयाँ बन्न लागेको ऐन कार्यान्वयन गर्न सक्ने अवस्था छैन । व्यापारी/व्यवसायीलाई दु:ख हुन सक्छ । तरकारीको मूल्यको तह तोक्ने सरकार होइन । तह तोक्ने अधिकार उद्योगी व्यापारीलाई दिनुपर्छ,’ उपभोक्ता संरक्षण ऐन २०७५ विधेयकको विषयमा कार्यपत्र प्रस्तुत गर्दै महासंघका प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठले भने, ‘बिक्री भएको वस्तु फिर्तासम्बन्धी व्यवस्था पुनर्विचार गरिनुपर्छ । कालोबजारी ऐन खारेज गर्नुपर्ने । एउटै पसलमा हजारौं सामान हुन्छ र मूल्यसूची राख्न सम्भव छैन । जरिवाना उचित हुँदैन ।’


त्यसलगत्तै बोलेका महासंघका उपाध्यक्ष किशोर प्रधानले जरिवानाको विषयमा आपत्ति जनाए । ‘विगतमा गुणस्तर तथा नापतौलको जरिवाना एक हजार र एक वर्ष कैद थियो । तर, अहिले ३ वर्ष कैद र ३० हजार जरिवाना बनाएको छ,’ उनले भने, ‘यो उचित होइन । यो व्यवस्थालाई ध्यान दिनुपर्छ ।’ सरकारले स्वदेशी उद्योगमा ध्यान नदिएको तर कैद र सजाय बढाएकाले जेलको संख्या बढाउनुपर्ने उनले मन्त्री यादवलाई घोचपेच गरे ।


अर्का उपाध्यक्ष उमेशलाल श्रेठले पनि यही नीति र दृष्टिकोणले आन्दोलन गर्नुपर्ने उनले बताए । ‘यसले सरकारको उद्देश्य पूर्ति गर्दैन । अनुगमनका क्रममा सिलबन्दी गर्ने प्रवृत्ति अत्यन्त खराब छ । सिलबन्दीले असल समान पनि बिग्रन्छ,’ उनले भने, ‘त्यसले पनि व्यापारीलाई घाटा हुन्छ ।’ क्षतिपूर्तिको सन्दर्भमा कर्मचारीको गल्तीले व्यापारीमा घाटा हुन्छ भने त्यसको क्षतिपूर्ति हुनुपर्ने बताए । अनुगमनको प्रक्रियामा महासंघको प्रतिनिधि पनि उनीहरूले माग गरे ।


महासंघका अध्यक्ष भवानी राणाले उद्योगीको सुझाव नपरेकामा गुनासो गरिन् । ‘हामी पनि उपभोक्ता नै हो । सरकारले सबैलाई संरक्षण गर्नुपर्छ । महासंघको सुझाव समेट्नुपर्छ,’ उनले भनिन्, ‘तर, हामीले दिएको सुझाव परेन ।’ उद्योगीको प्रश्नको जवाफ दिँदै मन्त्री यादव केही उद्योगीहरू स्वदेशमा उत्पादन भएको वस्तु नखाएको भन्दै घोपचेप गरे । ‘विदेशबाट आयातित फलफूल र खाद्यान्न मात्रै खान्छन् । स्वदेशी उत्पादन खाँदैनन्,’ सहायक उपभोक्ताको भूमिका नखेलौं । यही आग्रह छ,’ उनले भने, ‘आयात गरेर खान केही आपत्ति/विरोध छैन । स्वास्थ्य राम्रो होस्, शुभकामना छ । तर, जसको औकात छैन, त्यसले पनि राम्रो, गुणस्तरीय वस्तु खान पाउनुपर्छ ।’ अहिलेको अवस्थामा बजारमा सरकार नभएको महसुस भएको उनले दाबी गरे ।


‘मन्त्रीले अनुगमन गर्दा विरोध हुन्छ । अनुगमन क्रममा दोषी भेटिए एक हजार जरिवानामा छाड्नुपर्ने बाध्यता छ । आर्थिक अपराध गरेको छ भने पनि आर्थिक दण्ड मात्रै गर्नुपर्ने धारणा छ,’ उनले भने, ‘केही अपराध आर्थिकको लागि मात्रै भएको छ ।’ मन्त्री यादवले उपाध्यक्ष प्रधानलाई घोचपेच गर्दै भने, ‘यहाँ ठूलो जेल बनाउनुपथ्र्यो भन्ने कुरा आएको छ । यसको अर्थ अपराध, गल्ती गर्छौं भन्ने अभिव्यक्ति नै हो ।’ केही उद्योगी राजनीतिक दलले ठूलठूला भ्रष्टाचार गरेर जेलमा बस्ने र थोरै सजाय काटेर पुस्तौंसम्म पुग्ने सम्पत्ति आर्जन गरेको आरोप लगाए । ‘तपाईहरू र हाम्रो मध्यको केही मान्छे देखेको छु,’ उनले भने, ‘त्यसैले तर्क गर्दा तथ्यमा आधारित गरौं ।’


ऐनमा सबैलाई समेट्न माननीय, व्यवसायी र उपभोक्ताको सुझाव लिएको उनले बताए । आयातित वस्तुबारे पनि गम्भीर रहेको मन्त्रालयले जनाएको छ । नयाँ ऐन अभ्यासको क्रममा केही समस्या भए संशोधन गर्न सकिने बताए । ‘नेपालको संविधान संशोधन हुन सक्छ, भने कुनै समस्या भए ऐन पनि संशोधन गर्न सकिन्छ,’ मन्त्री यादवले भने । केही उद्योगमा साइनबोर्ड मात्रै राखेर आयातित वस्तु बिक्री भएको उनले दाबी गरे । ‘जहाँ हेर्‍यो त्यहीँ कैफियत छ । अनुगमन गर्दा उद्योगी विरोधी भन्ने आरोप छ,’ उनले गुनासो गरे, ‘अखाद्य बेच्नेविरुद्ध कडा हुनैपर्छ । गल्ती नै नगरौं । जेल जान पनि पर्दैन ।’ गल्ती गर्ने त्यसपश्चात् विभिन्न ठाउँबाट दबाब दिनेलाई छुट नहुने उनले बताए । ‘बरु मन्त्री पद छाड्न तयार छु,’ उनले भने, ‘गल्ती गरेर विभिन्न निकायबाट दबाब दिनेलाई छुट हुँदैन ।’


उद्योगीहरूले उठाएको प्रश्नको जवाफ दिँदै वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरेले मौलिक हकका रूपमा रहेकाले कार्यान्वयन गर्ने जिम्मेवारी भएको बताए ।


बजारमा भोगेको देखेको अनुभवको आधारमा विधेयक ल्याएको बताए । ‘ऐन आउँदा चिन्तित भएको हो भने, के अहिले बजारको अवस्था सुधार भएको अवस्था हो त ? बजारमा उपभोक्ताको हकहित सुधार भएको अवस्था हो त ? हामी सबैले आफ्नो जिम्मेवारी पूरा गरेको अवस्था हो त ? पूरा गरेको थियो र कुनै समस्या थिएन भने ठीक छ । तर, केही समस्या थियो भने समाधान त खोज्नुपर्‍यो नि ?’ सचिव घिमिरेले प्रश्न गरे, ‘समस्याको समाधान खोज्ने क्रममा यो विधेयक प्रस्तुत हुन आएको हो । अहिलेको बजार अवस्थामा सुधार भएको छ कि छैन, त्यहाँ प्रश्न राख्न चाहन्छु ?’

अर्थ वाणिज्य

पुनहिल–तातोपानीको आम्दानी स्थानीयमा

- कान्तिपुर संवाददाता

म्याग्दी (कास)– अन्नपूर्ण गाउँपालिकाले यहाँका प्रख्यात पर्यटकीय गन्तव्य पुनहिल र तातोपानी कुण्डमा हुने आम्दानीलाई करको दायरामा ल्याएको छ । संकलित करको ३० प्रतिशत गाउँपालिका कोषमा र ७० प्रतिशत सम्बन्धित वडामा बाँडफाँट हुनेछ ।


दुवै पर्यटकीय क्षेत्रको व्यवस्थापन स्थानीय समितिमार्फत हुँदै आएको थियो । गाउँपालिकाले अब करसहित व्यवस्थापन आफ्नो जिम्मामा लिँदै ठेक्का लगाएको हो । बेनी–जोमसोम सडक क्षेत्रमा पर्ने भुरुङ तातोपानी कुण्ड व्यवस्थापन गर्न गाउँपालिकाबाट स्थानीय लट्टे गिरीले ५३ लाख रुपैयाँमा ठेक्का लिएका छन् ।


त्यसैगरी अन्नपूर्ण चक्रीय पदमार्गको उत्कृष्ट गन्तव्य पुनहिल प्रवेशमा स्बथानीय व्यवस्थापन समितिले संकलन गर्दै आएको करलाई पनि गाउँपालिका मातहत ल्याइएको छ । पुनहिलमा भने न्यूनतम ४० लाख राखेर गाउँपालिकाले टेन्डर आह्वान गरेको थियो । स्थानीय खुसी होम विल्डर्सले ७० लाखमा सम्झौता गरेको छ । दुवै कर असोज १ बाट लागू हुने गाउँपालिकाले जनाएको छ ।


‘पहिलो चरणमा प्रमुख दुई प्राकृतिक सम्पदाको आम्दानी गाउँपालिकाको मातहत राखेर करको दायरामा ल्याएका छौं,’ गाउँपालिका अध्यक्ष डमबहादुर पुनले भने, ‘बिस्तारै अन्य पर्यटकीय गन्तव्य र बेसक्याम्पमा पनि स्थानीय सरकारको उपस्थिति रहन्छ ।’ तातोपानी कुण्ड प्रवेश गर्न आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति ५० र बाहय पर्यटकका लागि १ सय ५० शुल्क तोकिएको छ भने पुनहिल प्रवेश गर्न आन्तरिकलाई ५० र बाहय पर्यटकलाई सय रुपैयाँ शुल्क तोकिएको छ ।

अर्थ वाणिज्य

सञ्चालक समितिको बैठक कुर्दै लगानी बोर्ड

पश्चिम सेती जलविद्युत् आयोजना
- विजय तिमल्सिना

 (काठमाडौं)- चिनियाँ कम्पनीले आयोजनाबाट हात झिक्ने संकेत गरेको ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनाबारे निर्णय गर्न लगानी बोर्ड कार्यालयले सञ्चालक समितिको बैठक पर्खिने भएको छ । बोर्डको सञ्चालक समितिको अध्यक्ष प्रधानमन्त्री हुन् ।


बोर्ड र पश्चिम सेती प्रवद्र्धक कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनलको दुई साताअघि काठमाडौंमा भएको दुईदिने छलफलमा चिनियाँ कम्पनीले आयोजना महँगो पर्ने बताउँदै आयोजनाबाट हात झिक्ने संकेत दिएको थियो । छलफलका लागि थ्री गर्जेजका अध्यक्ष जाओ जिङजियाङसहितको टोली काठमाडौं आएको थियो ।


‘आयोजना के गर्ने विषयमा सञ्चालक समितिको बैठकले निर्णय गर्छ,’ लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले भने, ‘चिनियाँ पक्षसँग भएको वार्ताको विषयमा सञ्चालक समितिको बैठकमा जानकारी गराउनेछौं ।’ बोर्ड बैठक कहिले बस्छ टुंगो नभएको उनले बताए । साउन १ मा बसेको लगानी बोर्डको सञ्चालक समिति बैठकले बोर्ड कार्यालयलाई आयोजनाबारे सरोकारवालासँग छलफल गरी निष्कर्षमा पुग्न निर्देशन दिएको थियो । सञ्चालक समितिको बैठकको निर्देशनबमोजिम पश्चिम सेतीको प्रवद्र्धक कम्पनी थ्री गर्जेजलाई बोर्डले वार्ताका लागि नेपाल बोलाएको हो ।


अस्ट्रेलियन कम्पनी स्मेकबाट खोसेर सरकारले २०६८ सालमा बिनाप्रतिस्पर्धा पश्चिम सेती चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिएको थियो । आयोजना निर्माणको जिम्मा पाएको थ्री गर्जेजले ७ वर्षसम्म विभिन्न माग मात्रै राख्दै आएको छ ।


पछिल्लोपटक काठमाडौंमा भएको वार्तामा थ्री गर्जेजले आफ्ना पुराना मागसहित नयाँ समस्यासमेत राखेको थियो । थ्री गर्जेजका प्रतिनिधिले पश्चिम सेती आयोजना निर्माण गर्दा प्रभावितलाई दिनुपर्ने क्षतिपूर्तिको लागत बढेर कुल लगानीको १० प्रतिशतभन्दा बढी पर्न सक्ने बताउँदै आयोजनाबाट नाफा नहुने निष्कर्ष सुनाएको थियो ।


थ्री गर्जेजले पश्चिम सेतीबाट उत्पादित विद्युत् किन्दा नेपाल विद्युत् प्राधिकरणले खरिद मूल्य बढाउनुपर्ने माग राखेको छ । जलाशययुक्त आयोजनाबाट प्राधिकरणले विद्युत् खरिद दर वर्षामा ७ रुपैयाँ ४० पैसा र सुक्खायाममा १२ रुपैयाँ ४० पैसा कायम गरेको छ ।


आयोजनाको विद्युत् खरिद सम्झौता डलरमा आधारित हुनुपर्ने थ्री गर्जेजको माग छ । विद्युत् खरिदको वर्तमान निर्देशिकाअनुसार जलविद्युत् आयोजनाले विदेशी लगानी नतिरुन्जेल वा १० वर्षसम्म जुन चाँडै हुन्छ त्यही बेलासम्म मात्रै डलरको भाउमा विद्युत् खरिद गर्न मिल्ने व्यवस्था छ ।


वार्ताका क्रममा १२ वर्षसम्म डलरमा पीपीए गर्ने व्यवस्था मिलाउन लगानी बोर्डसहित नेपाली वार्ता टोली सकारात्मक देखिएको थियो । तर, यति गर्दा पनि आयोजनाको १७ प्रतिशत नाफा दर निश्चित नहुने थ्री गर्जेजले दाबी गरेको थियो ।


थ्री गर्जेजले आयोजना ७ सय ५० मेगावाटमा बनाउँदा लगानी नउठ्ने निष्कर्ष सुनाएको थियो । चिनियाँ कम्पनीको मागअनुसार लगानी बोर्डले आयोजना करिब ६ सय मेगावाट जडित क्षमतामा निर्माण गर्न दिने सहमति गर्न सकिने बताएको थियो । तर, ६ सय मेगावाट जडित क्षमता राख्दा पनि आयोजना नाफा नहुने थ्री गर्जेजको दाबी छ ।


थ्री गर्जेजसँगको वार्तामा बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीसहित अर्थ, ऊर्जा, कानुन र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरू सहभागी थिए । थ्री गर्जेजको वार्ता टोलीले अर्थमन्त्री युवराज खतिवडा र ऊर्जामन्त्री वर्षमान पुनसँग पनि आयोजनाबारे छलफल गरेको थियो ।


बैतडी, बझाङ र डडेल्धुरा र डोटी जिल्लालाई छुने आयोजनाले वार्षिक २ अर्ब ८० करोड युनिट विद्युत् उत्पादन गर्ने अनुमान छ । आयोजनाका लागि १ खर्ब ८० अर्ब लाग्ने अनुमान छ ।
आयोजना निर्माणका लागि सरकारले २०५४ मा अस्ट्रेलियाली कम्पनी स्मेकलाई दिएको थियो । तर, पटकपटक म्याद थप्दा पनि कम्पनीले आर्थिक स्रोत जुटाउन नसकेपछि २०६८ साउनमा सम्झौता खारेज भएको हो । सोही वर्ष आयोजना निर्माणको जिम्मा थ्री गर्जेजलाई दिने निर्णय भएको हो ।


थ्री गर्जेजसँग भएको समझदारीमा आयोजना सन् २०१४ देखि निर्माण सुरु गरी २०१९ को डिसेम्बरमा निर्माण गरिसक्ने उल्लेख छ ।

अर्थ वाणिज्य

निर्माण सुरु नभई म्याद सकियो

रानी जमरा लम्की शाखा नहर
रूख कटान सम्पन्न भएपछि फेरि रूखका जरा उखल्ने अनुमति नदिएर सरकारबाटै निर्माणमा व्यवधान
- मोहन बुढाऐर,गणेश चौधरी

(चिसापानी/कैलाली)- कैलाली लम्कीका बिर्खबहादुर साउदको एक बिघा खेतको उब्जनीले वर्षभरि खान पुग्दैन । ‘आकासेपानीको भर पर्दा बेलैमा रोपाइँ हुँदैन,’ बिर्खबहादुरले
भने, ‘बाली सप्रने र बिग्रने पानीकै भरमा हो ।’


यसपालि धान पसाउने बेला पानी परिरहेकाले उत्पादन राम्रो हुनेमा साउद आशावादी छन् । तर, नभित्र्याउञ्जेल ठेगान नहुने उनले बताए । ‘पोहरसाल धान काट्ने बेला परेको वर्षाले बाली बर्बाद् भएको थियो,’ उनले भने । साउदका अनुसार किसानको २० देखि ३० प्रतिशत क्षति भएको थियो । सिँचाइ सुविधा नभएकाले यस्तो समस्या भएको उनले बताए ।


‘खडेरी परेको वर्ष भोकमरीको अवस्था सिर्जना हुने किसानहरू बताउँछन् । साउदले भने, ‘किसानले पूरै खेतमा धान रोप्न पाउँदैनन् । भएको बालीमा पनि रोगकिराले नोक्सान गर्छ ।
४० बोरा फलाउन सकिने जमिनमा १० बोरा पनि फल्दैन ।’ तर, हाल बिर्खबहादुर रानीजमरा कुलरिया सिँचाइ आयोजनाको लम्की शाखा नहर विस्तारको ठेक्का सम्झौताले खुसी छन् । तर, निर्माणको काममा भइरहेको ढिलाइले उनी चिन्तित छन् ।


‘यही असारमा कर्णालीको पानीले रोपाइँ हुन्थ्यो,’ उनले भने, ‘सरकार र ठेकेदार जसको पक्षबाट भए पनि नहर निर्माणको काम समय अवधिभित्र सम्पन्न हुन सकेन । आयोजनाको तेस्रो चरणको लम्की शाखा नहर विस्तार निर्माण पूरा गर्नुपर्ने अवधि ०७५ असारमा सकिसकेको छ । कैलाली चिसापानीको डुडेझाडीदेखि पथरियासम्मको १४.७ किलोमिटर नहर निर्माणको ठेक्का कालिका कुमार जेभीले लिएको थियो । ०७३ मा आयोजनाले १ अर्ब ७१ करोडमा उक्त कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । उक्त नहरको कमान्ड क्षेत्र ६ हेक्टर छ । ‘एक इन्च नहर नखनेरै निर्माण गर्नुपर्ने म्याद सकियो,’ उपभोक्ता साउदले भने, ‘नहर निर्माणको काम सम्पन्न गर्न कति वर्ष लाग्ने थाहा छैन । यसमा सरोकार निकायको ध्यान पुग्न जरुरी छ ।’


ठेकेदार कम्पनीका प्रमुख इन्जिनियर सुनिल पौडेलले कार्यान्वयन निकायबाट भएको ढिलाइका कारण नहर निर्माणको काम अघि बढ्न नसकेको बताए । उनका अनुसार नहर निर्माणको शाखा विस्तार हुने डुडेझाडीदेखि ६ किलोमिटरसम्म जंगल क्षेत्रमा पर्छ । त्यहाँदेखि १४.७ किलोमिटर क्षेत्र आवादीमा पर्छ ।


रूख काटेपछि जरा उखेल्ने अनुमति पाइएन
‘सरकारले वन क्षेत्रमा रूखहरू हटाउने अनुमति दिने काममा ढिलो गर्‍यो,’ ठेकदार कम्पनीका इन्जिनियर पौडेलले भने, ‘गएको चैतमा वन विभागबाट रूख काट्ने अनुमति मिल्यो । असार १० भित्रमा ६ किलोमिटर वन क्षेत्रका रूखहरू हटाउने काम भयो ।’ उनले रूख कटान सम्पन्न भएपछि फेरि रूखका जरा उखल्ने अनुमति नदिएर सरकारबाटै निर्माणमा ढिलाइ भएको बताए । यसै साता जराहरू हटाउने अनुमति दिएको उनी बताउँछन् । ‘अहिले जराहरू हटाउने काम सुरु भएको छ,’ उनले भने, ‘कार्यान्वयनमा व्यवधान उत्पन्न भएन भने ६ किलोमिटर क्षेत्रको नहर निर्माणको काम अघि बढ्नेछ ।’ ठेकेदार कम्पनीको म्याद थप नभएको उनले बताए । म्याद थपको समय दिएर सरकारले कामलाई अगाडि बढाउनुपर्ने पौडेलको भनाइ छ । उनले ठेकेदार कम्पनीले कार्यान्वयन पक्षका कारण घाटा व्यहोर्नुपरेको बताए ।


‘हामीले म्यानपावर र इक्विपमेन्टहरू स्टान्डबाई राखेका छौं,’ उनले भने, ‘काम नपाएर खाली राख्नुपर्दा कम्पनीले घाटा व्यहोर्नुपरेको छ ।’ निर्माण काम सुरु गर्न ६ किलोमिटर जंगलको क्षेत्रको काम ‘क्लियर’ भए पनि बाँकी ८ किलोमिटर आवादी क्षेत्रमा मुआब्जाको समस्यालाई कार्यान्वयन पक्षले चाँडो समाधान गर्नुपर्ने उनी बताउँछन् ।


रानीजमरा सिँचाइ आयोजनाका सिनियर इन्जिनियर रणबहादुर बमले ठेक्का हुनुअघि गरिसक्नुपर्ने प्राविधिक अध्ययनका काममा ढिलाइ भएकाले निर्माणमा ढिलाइ भएको बताए । ‘नहरको सर्भेपछि आईइए/ईआए गरेर रूख कटानको समेत काम सम्पन्न भएपछि नहर निर्माणको ठेक्का सम्झौता हुनुपर्ने थियो,’ उनले भने, ‘पहिल्यै ठेक्का हँुदा वन मन्त्रालयलगायतबाट सम्पन्न गरिनुपर्ने काम ढिलो भयो ।’ उनले आवादी क्षेत्रमा मुआब्जाको समस्या मात्रै बाँकी रहेको बताए ।


‘मुआब्जाको समस्या समाधानका लागि प्रशासनलगायत सरोकार निकायबाट चाँडो गर्ने काम भइरहेको छ,’ इन्जिनियर बमले भने, ‘मुआब्जाको काम सकिएपछि निर्माणको एकहोरो काम सुरु हुन्छ ।’ उनले बढीमा २/३ वर्षमा लम्की शाखा नहरमा समेत पानी सञ्चालन गरिसक्ने बताए । हालसम्म नहरको एलाइनमेन्ट र कित्ता फिक्स भइसकेको उनले बताए ।
जग्गा मूल्य निर्धारण समितिले नहरमा परको जग्गाधनीको जग्गाअनुसारको कित्ताकाट गरी मुआब्जा लिएमा काम सजिलै अघि बढ्ने उनी बताउँछन् । ‘साउदलगायत यहाँका किसानमा खुसीको लहर छाउनेछ,’ आयोजनाका इन्जिनियर बमले भने, ‘तर नहर निर्माणमा मुआब्जाको समस्या समाधानमा सबैको सहयोग चाहियो ।’

Page 18
अर्थ वाणिज्य

नाडा अटो सोमा बैंकको अफर

- कान्तिपुर संवाददाता

(काठमाडौं)- ब्याजदर उच्च भएकै कारण सवारी साधन किन्न पछि हच्किनुपर्ने अवस्था अब रहेन । एक साताको अवधिमा बैंक तथा वित्तीय संस्थाले सवारी साधन कर्जाको ब्याजदर औसतमा डेढदेखि २ प्रतिशतसम्म घटाएपछि यस्तो अवस्था आएको हो । खासगरी ‘नाडा अटो सो’ लाई लक्षित गरी बैंक तथा वित्तीय संस्थाले यस्तो अफर ल्याएका हुन् । एक महिनाअघिसम्म १२ देखि १३ प्रतिशत ब्याजदरमा सवारी साधन कर्जा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाले अचेल १० प्रतिशतभन्दा कममा कर्जा दिन सुरु गरेका छन् । जसमध्ये अधिकांशको ब्याजदर ९.९० देखि ९.९९ प्रतिशतबीच छ ।


अहिले बैंक तथा वित्तीय संस्था जसरी भए पनि धेरैभन्दा धेरै ग्राहकलाई सवारी साधन कर्जा प्रवाह गर्ने होडमा छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो’ मा विभिन्न अफरहरू ल्याउनुले यो पुष्टि हुन्छ । मासिक किस्ता कम गरेर होस् वा भुक्तानी अवधिमा लचकता अपनाएर । सेवा शुल्कमा भारी छुट दिएर होस् वा सस्तो दरमा, छिटो र झन्झटबिना कर्जा प्रवाह गरेर होस् ।


जसरी भए पनि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई सवारी साधन खरिद गराउन लागिपरेका छन् । यो वर्षको अटो सोमा बैंक तथा वित्तीय संस्थाले छुट्टै स्टल भने पाएका छैनन् । सवारी कम्पनीहरूका स्टलमा बसेरै भए पनि बैंकका कर्मचारीहरू ग्राहकको परामर्शमा तल्लीन भेटिन्छन् ।


‘अहिले हामीले ९.९५ प्रतिशतमा सवारी कर्जा दिइरहेका छौं, असोजपछि ब्याजदर झनै घट्छ,’ नाडा अटो सोमा ग्राहकलाई नयाँ सवारी साधन कर्जाबारे परामर्श दिइरहेकी हिमालयन बैंककी एक कर्मचारीले भनिन् । बैंकको आधार ब्याजदर (बेस रेट) मा कमी आएको छ । सोहीअनुसार पहिलो त्रैमासमा ब्याजदर समायोजन हुने भएकाले ब्याजदर अझै घटन सक्ने उनको भनाइ थियो ।


‘०.२५ प्रतिशत सेवा शुल्कबाहेक अन्य कुनै पनि अतिरिक्त शुल्क लाग्दैन,’ अटो सोमा भेटिएका नेपाल इन्भेस्टमेस्ट बैंककी एक कर्मचारीले भनिन्, ‘दुई दिनमै ऋण स्वीकृत हुन्छ ।’
तीन/चार महिनायता बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अवस्था सहज बन्दै गएको छ । लगानीयोग्य रकम बैंकमा जम्मा हुन थालेपछि बैंक तथा वित्तीय संस्थाको कोषको लागत (कस्ट अफ फन्ड) मा कमी आएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार आधार ब्याजदर (कस्ट अफ फन्ड) मा भएको परिवर्तनअनुसार हरेक त्रैमासमा ऋणको ब्याजदर पनि समायोजन गर्नुपर्छ । यही निर्देशनअनुसार पहिलो त्रैमास (असोज) मा बैंकहरूले ऋणको ब्याजदर समायोजन गर्नेछन् । यसकारण असोजपछि ब्याजदरमा केही कमी आउने बैंकरहरू बताउँछन् ।
राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउन त्रैमास नै कुर्नुपर्ने अवस्था अहिले छैन । राष्ट्र बैंकले गत बुधबार जारी गरेको निर्देशनअनुसार आधार ब्याजदरमा कमी आएपछि जुनसुकै समयमा पनि बैंकले ऋणको ब्याजदर घटाउन सक्नेछन् । यसअघि हरेक तीन/तीन महिनामा मात्र ऋणको ब्याजदर समायोजन गर्नुपर्ने व्यवस्था थियो ।


कतिपय बैंकहरूको आधार ब्याजदर घटेकाले पहिलो त्रैमासपछि ब्याजदर केही घट्न सक्ने बैंकर्स संघका कार्यकारी सदस्य अशोक शेरचनले बताए । ‘अरू सबै कर्जाको ब्याजदर नघटे पनि अटोलगायत अल्पकालीन प्रकृतिका कर्जाको ब्याज केही कम हुन सक्छ,’ उनले भने । ग्राहकको आम्दानीको नियमतिता (क्यास फ्लो) का आधारमा प्रवाह हुने, अल्पकालीन प्रकृतिको, अन्य आम्दानी पनि बढ्ने र मासिक भुक्तानी नै यसका प्रमुख विशेषता हुन् । यसकारण पनि बैंकहरूले अटो लोनको ब्याजदर घटाउन सक्ने उनको भनाइ छ ।
ऋणीको स्थिर आम्दानीका आधारमा सवारी साधन कर्जा प्रवाह गरिने भएकाले जोखिम कम हुने भएकाले यो क्षेत्रमा बैंकहरूको आकर्षण बढेको बैंकरहरू बताउँछन् । ‘बैंकहरूले जोखिम पनि मूल्यांकन गर्छन्,’ अर्का एक बैंकरले भने, ‘यो क्षेत्रमा जोखिम कम छ । त्यसैले बैंकहरूको प्राथमिकतामा परेको हो ।’


राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले निजी सवारी साधनमा सवारी मूल्यको बढीमा ६५ प्रतिशत र सार्वजनिक सवारीमा बजार मूल्यको ७० प्रतिशतसम्म फाइनान्सिङ गर्न पाउँछन् । सवारी खरिद गर्दा बैंकबाट सस्तो दरमा ऋण पाइने भएकै कारण पछिल्लो समयमा सवारी खरिद बढेको व्यवसायीहरू बताउँछन् । यही कारण हाल बिक्री भएका कुल सवारी साधनमध्ये करिब ७० प्रतिशत फाइनान्सिङ (बैंकबाट कर्जा लिएर) मा छन् । तीमध्ये ठूला सवारी साधन करिब ६० प्रतिशत र मोटरसाइकलमा करिब ३० प्रतिशत फाइनान्सिङमा छन् । बिक्री भएका निजी कारमध्ये करिब ९० प्रतिशत फाइनान्सिङमा रहेको जनाइएको छ । हाल सवारी साधनसहित हायर पर्चेज कर्जाको हिस्सा बैंक तथा वित्तीय संस्थामा कुल लगानीको करिब ८० प्रतिशतभन्दा धेरै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।


सन् १९९४ मा स्टयान्डर्ड चार्टर्ड बैंकले नेपालमा पहिलोपटक मासिक किस्ताबन्दीमा ‘अटो लोन’ सुरु गरेको थियो । यो बैंकले पहिलो ‘काठमान्डु ऐलो क्याप’ (नेपालमा पहिलो पटक संगठित रूपमा टयाक्सी सञ्चालन गर्ने समूह) अन्तर्गतका टयाक्सी खरिदका लागि ऋण प्रवाह गरी फाइनान्सिङको सुरुवात गरेको हो । अहिले प्राय: सबै बैंक तथा वित्तीय संस्थाको लगानीको प्रमुख क्षेत्र नै सवारी कर्जा बनेको बैंकरहरू बताउँछन् ।


अधिकांश चारपांग्रे किन्दा बिमा नि:शुल्क
फाइनान्सिङमा सवारी खरिद गर्न चाहनुभएको छ भने तपाईले अतिरिक्त सुविधामा नि:शुल्क बिमा पनि पाउनुहुनेछ । खासगरी नाडा अटो सोमा बिमा कम्पनीहरूसँग मिलेर मोटर बिक्री गर्ने कम्पनीहरूले यस्तो अफर पनि ल्याएका छन् । अधिकांश चारपांग्रे सवारी साधनमा कम्पनीहरूले बिमा सुविधा दिने जनाएका छन् । ‘फाइनान्सिङमा सवारी खरिद गर्दा एक वर्षको पूरा बिमा निशु:ल्क छ,’ एमसी गाडी बिक्रेता कम्पनीका एक प्रतिनिधिले भने ।


चारपांग्रे सवारीमा धेरै कम्पनीहरूले एक वर्षसम्मको बिमा नि:शुल्क दिए पनि दुईपांग्रे सवारीमा यस्तो सुविधा छैन । ती सवारी किन्दा ग्राहकले आफैं बिमा गर्नुपर्नेछ । यद्यपि यो सुविधा कम्पनी र ग्राहकबीचको मोलमोलाइ (बार्गेनिङ) मा निर्भर गर्छ । यसकारण सवारी खरिद गर्दा ग्राहकले राम्रोसँग मोलमोलाइ गर्नुपर्ने देखिन्छ ।


मोटर बिमामार्फत धेरै प्रकारका जोखिम सुरक्षण गर्न सकिन्छ । यही कुरा बुझेरै पछिल्लो समयमा मोटर बिमा गर्नेको जमात बढेको छ ।


विगतका वर्षहरूको तुलनामा अहिले बिमा व्यवसाय बढ्नुले पनि यो पुष्टि हुन्छ । योसँगै बिमा कम्पनीहरूबीचको प्रतिस्पर्धा पनि अकासिएको छ । परिणाम बिमा कम्पनीहरूले मोटर बिमाका नयाँनयाँ ‘प्रडक्ट’ बजारमा भित्र्याएका छन् । यसको प्रत्यक्ष लाभ सेवाग्राहीलाई पुगेको छ । बिमा समितिको तथ्यांकअनुसार गत वर्ष कुल बिमा व्यवसाय करिब १८ प्रतिशतले बढेको छ । त्यसमध्ये मोटर बिमाको हिस्सा सबैभन्दा बढी ४६ प्रतिशत छ ।


सवारी दुर्घटना, चोरी तथा कुनै कारणले साधनमा क्षति पुग्यो भने बिमा कम्पनीहरूबाट सजिलै दाबी भुक्तानी पाउन सकिन्छ । बिमा कम्पनीहरूबीच बढदो प्रतिस्पर्धासँगै बजारमा नयाँनयाँ योजनाहरू पनि आएका छन् । यही क्रममा केही कम्पनीहरूले ‘अन दि स्पट’ दाबी भुक्तानी दिने योजना पनि बजारमा ल्याएका छन् । ती बिमालेखअन्तर्गत बिमक (बिमा कम्पनी) ले दुर्घटना स्थलमै पुगेर बिमित (सेवाग्राही) लाई दाबी भुक्तानी गर्छन् । यसले पनि मोटर बिमाको विकास तथा विस्तार तीव्र बनेको जानकारहरू बताउँछन् ।

अर्थ वाणिज्य

हुन्डाईको नयाँँ इलेक्ट्रिक कार

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)–हुन्डाईले नाडा अटो सोमा आफ्नो इलेक्ट्रिक कार लन्च गरेको छ । बिक्रेता लक्ष्मी इन्टरनेसनलले हुन्डाई आईओएनआईक्यू नेपालको नयाँ इलेक्ट्रिक गाडीको सेग्मेन्टकै पहिलो जनाएको छ । कम्पनीका अनुसार यो गाडीमा २८ किलोवाट आवर लिथियम–आयोन पोलिमर ब्याट्रीमा कनेक्ट हुने ८८ किलोवाटको इलेक्ट्रिक मोटर रहेको छ । यो मोटरले एक चोटि चार्ज गरेपछि २०० देखि २५० किलोमिटरको ड्राइभिङ दिने जारी विज्ञप्तिमा छ ।


साथै यसमा ११० भोल्ट आउटलेटमा सजिलै प्लग गर्न मिल्ने ओबीसी चार्जर रहेको जनाएको छ । नयाँ कारमा रहेको प्याडल सिफ्ट गर्न मिल्ने सुविधाले रिजेनेरेटिभ ब्रेकिङमा चार लेबलको नियन्त्र प्रदान गर्छ ।

अर्थ वाणिज्य

टाटा मोटर्सको अफर

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नाडा अटो सोको उपलक्ष्यमा टाटा मोटर्स र बिक्रेता सिप्रदी ट्ेरडिङले नगद वा हीरा अफर घोषणा गरेको छ । यो अफर हरेक प्रकारका गाडीका लागि विविध रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नाडा अटो सोमा गाडी खरिद गरेबापत ग्राहकले ५ लाखसम्मको हीराको हार वा ३ लाख ५० हजार रुपैयाँसम्मको खरिद छुट पाउनेछन् । साथै सबै प्रकारका गाडी बुकिङमा १ वर्षको बिमा सुविधा कम्पनीको तर्फ उपलब्ध गराइने जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

टिभिएस नटर्क स्कुटर

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– टीभीएसले राजधानीमा जारी नाडा शोमा एनर्टक १२५ स्कुटर सार्वजनिक गरेको छ । विक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड उक्त स्कुटर भित्र्याएको हो । यसको मूल्य २ लाख २४ हजार ९ सय रुपैया रहेको जारी विज्ञप्तिमा उल्लेख छ । यो स्कुटरमा न्यू जेनेरेशन सिभिटीआइ आरइभिभी १२६.७९ सीसीको सिगंल सिलिन्डर, ४स्टोर्क, ३ भल्ब एयरकूल्ड इन्जिन रहेको जनाएको छ ।

Page 19
खेलकुद

भारतसँग कमजोरी सुधार्ने मौका

- विनोद पाण्डे

(काठमाडौं)- भारत यू–१९ ‘बी’ सँग कमजोर देखिएको नेपाली यू–१९ क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले अर्को खेलमा आफ्नो टोलीबाट सुधारिएको प्रर्दशनको अपेक्षा राखेका छन् । चार टिमसम्मिलित यू–१९ क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार भारत यू–१९ ‘ए’ सँग खेल्दै छ ।
पहिलो दिनको खेलमा नेपाली यू–१९ ले १ सय ६२ रनको लक्ष्य पछ्याउन नसक्दा भारत यू–१९ ‘बी’ सँग ४० रनले पराजित भयो । भारत यू–१९ ‘बी’ लाई ४९ ओभरमा १ सय ६१ रनमा अलआउट गरेपछि जवाफी ब्याटिङमा आएको नेपाली यू–१९ को इनिङ्स ४२ औं ओभरमा १ सय २१ रनमै खुम्चिएको थियो ।


‘भारत यू–१९ ‘बी’ सँग भन्दा हाम्रो सुधारिएको प्रदर्शन हुनेछ । ब्याटिङमा अझ सकारात्मक हुनलाई हामी सक्दो उत्कृष्ट दिन खोज्नेछौं,’ प्रशिक्षक दासले लखनउबाट कान्तिपुरसँग भने । प्रतियोगिताको अर्को टोलीमा अफगानिस्तान यू–१९ छ । पहिलो खेलमै पराजित भएकाले फाइनलमा पुग्ने आशा जीवित राख्न नेपालले भारत यू–१९ ‘ए’ सँगको खेल जित्नैपर्ने स्थितिमा हुनेछ ।


यथार्थमा भने ‘बी’ को तुलनामा ‘ए’ बलियो टोली रहेकाले नेपाली यू–१९ को ध्यान कसरी सकारात्मक खेल्ने भन्नेमा देखिन्छ । पुगनपुग तीन साताको तयारीले भारत यू–१९ को ‘बी’ टोलीलाई नेपालले चुनौती दिन सकेको थिएन । ‘नेपाली टोलीमा धेरै युवा खेलाडी छन् र उनीहरूले यसअघि यो स्तरमा खेलेका छैनन् । त्यसैले अलिकति गाह्रो हुनु सामान्य नै हो । सेट हुन उनीहरूलाई अलि समय लाग्छ,’ दासले भने, ‘यस्तो स्तरीय प्रतिद्वन्द्वी उनीहरूले पहिला सामना गरेका पनि थिएनन् ।’


दासका अनुसार पवन सर्राफ, आशिफ शेख, कमलसिंह ऐरी, भीम सार्की र सन्दीप जोराले यसअघि यो स्तरमा खेलिसकेकाले उनीहरूको प्रदर्शन पनि त्यहीअनुरुप देखिएको थियो । त्यसैले नयाँ खेलाडीलाई पनि टिक्न केही समय लाग्ने र त्यसपछि राम्रो हुनेमा दास आशावादी छन् । बलिङमा कमलले ३ र पवनले २ विकेट लिएका थिए । ब्याटिङमा भीमले ३०, कमलले २२, कप्तान आशिफले १७ र पवनले १२ रन जोडेका थिए । सन्दीप ४ रनमै आउट भएका थिए ।


नेपालको टिमलाई हेर्ने हो भने स्वभाविक नै छ नतिजाभन्दा प्रदर्शन सुधार्नेमा टोलीको जोड रहेको छ । ‘ब्याटिङमा सुधार अत्यन्त महत्त्वपूर्ण छ । हामी केही आक्रामक शैलीमा आउनुपर्छ, स्कोर हेर्दै स्ट्राइक रोटेट गर्न सक्नुपर्छ । त्यसो भएमा हामीमा सकारात्मकपन आउँछ र जे जति अवसर बन्छ त्यसको सदुपयोग गर्नुपर्छ,’ दासले भने ।


नेपालले गत वर्ष मलेसियामा एसीसी यू–१९ एसिया कपमा भारत यू–१९ माथि १९ रनको विजय हात पारेको थियो । त्यो विगत भइसक्यो । त्यसमा रहेका दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, अनिलकुमार शाह, रोहितकुमार पौडेल राष्ट्रिय टोलीमा छन् । भारत गएको यू–१९ नेपाली टोलीमा धेरै नयाँ अनुहार छन् । विगतको नतिजाले कुनै अर्थ नराख्ने तर्क राख्दै दास भन्छन्, ‘हामी सबैलाई थाहा छ भारतीय टिमलाई चुनौती दिन हामीले आफ्नो उत्कृष्ट खेल्नुपर्छ । पछिल्लो नतिजाले अहिले अर्थ राख्दैन । केही विशेष गर्न हामीले कसरी हुन्छ राम्रो दिने प्रयास गर्नुपर्छ ।’


मलेसियामा नेपालले ऐतिहासिक विजय हात पार्दा भारत यू–१९ का प्रशिक्षक भारतका पूर्व ब्याटिङ हस्ती राहुल द्रविड थिए । दासले त्यही द्रविडसमक्ष नेपाललाई पनि अवसरका लागि आफूले कुरा राखेको जनाउँछन् । त्यहीबाट यो प्रस्ताव नेपालका लागि विगतमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिनिधि रहँदै आएका बैंकटपति राजुसमक्ष पुर्‍याएपछि उनले द्रविडसम्म पुन: पुर्‍याएका थिए । त्यही भारतीय क्रिकेट बोर्डले नेपाललाई यो प्रतियोगिता खेल्ने अवसर दिएको थियो ।


पहिलो खेलमै भारत यू–१९ ‘बी’ सँग पराजित भएकाले नेपालले लखनउमा बाँकी दुई खेलमा खासै ठूलो अपेक्षा नगरेको हुनसक्छ । तर यसले सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म बंगलादेशमा हुने एसीसी यू–१९ एसिया कपमा नेपालको तयारीलाई आधार बनाउने स्पष्ट देखिन्छ । संयोगले यू–१९ एसिया कपमा नेपालले भारत, अफगानिस्तानसहित यूएईसँग खेल्दै छ ।

खेलकुद

मोरङ उपाधि नजिक

- कान्तिपुर संवाददाता

विराटनगर (कास)– मोरङ फुटबल एकेडेमी दोस्रो डाँगीहाट बुद्ध एयर गोल्डकप फुटबलको फाइनल पुगेको छ । मोरङले बिहीबार लक्ष्मी खेल मैदानमा बिहीबार चर्च ब्वाइज काठमाडौंलाई २–१ ले पराजित गरेको हो । पूरै समय विपक्षीलाई दबाबमा राखेको मोरङबाट ३७ औ मिनेटमा प्रेकले गोल गर्दै टिमलाई अग्रता दिलाए । मैदान बीचबाट एक्लै अगाडि बढाएको बलमा प्रेकले वान भर्सेस वानको स्थितिबाट गोल गरे ।


मोरङका लागि दोस्रो गोल पहिलो हाफको इन्ज्युरी समयमा सन्जोग राईले गरे । प्रेकले प्रहार गरेको बल चर्चका गोलरक्षक दिवस चौधरीबाट रिबाउन्ड हुँदा सन्जोगले उत्कृष्ट ढंगमा गोल गरेका थिए । चर्चले दोस्रो हाफमा केही सुधारिएको खेल पस्कँदा ७८ औं मिनेटमा एक गोल फर्काए पनि टिमको हार टार्न सकेन । उक्त गोल निरज बस्नेतको नाममा रह्यो । म्यान अफ द म्याच मोरङका विवेक पौडेल भए । शुक्रबार रेडहर्स इलाम र बिर्तामोड युनाइटेडबीच दोस्रो सेमिफाइनल हुनेछ ।

खेलकुद

जोन्टी नेपाल आउने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– दक्षिण अफ्रिकाका लागि एक दशक अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडी जोन्टी रोड्स नेपाल आउने भएका छन् । नेपाल स्पोर्ट्स म्यानेजमेन्ट (एनएसएम) को आयोजनामा हुने दुई साता लामो प्रशिक्षण क्याम्पका लागि जोन्टी अक्टोबर २० मा नेपाल आउँदै छन् ।
क्याम्प अक्टोबर २२ देखि नोभेम्बर ७ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।


आयोजक एनएसएमले खुला आवेदनमार्फत स्थानीय प्रशिक्षकबाट खेलाडी एक चरण छनोट गर्ने बताएको छ । खुला छनोटबाट १४ र १६ वर्षमुनिका झन्डै ६० खेलाडी जोन्टीसँग क्याम्पमा सहभागी हुनेछन् । क्याम्पका क्रममा क्रिकेट खेल र त्यससम्बन्धी विभिन्न कार्यक्रम आयोजना हुनेछ । जोन्टीले आफ्नो करिअरमा ब्याटिङसँगै उत्कृष्ट फिल्डरको रूपमा पनि परिचय बनाएका थिए ।

खेलकुद

विशाल र सिद्धार्थलाई स्वर्ण

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– दिलीप स्मृति तेक्वान्दो डोजाङका विशाल लामाले पाँचौं इचंगुनारायण उपत्यकाव्यापी तेक्वान्दोमा बिहीबार स्वर्ण जितेका छन् । इचंगुनारायण मन्दिर परिसरमा पुरुष ३७ केजीमुनि फाइनलमा विशालले ढल्कोका विशाल मोक्तानलाई हराए । लैनचौरका सुइकर रजक र चन्द्रागिरिका सञ्जय भण्डारी तेस्रो भए । ३३ केजीमुनि न्यु क्रिएटिभका सिद्धार्थ बलामी पहिलो भए । उनले फाइनलमा चन्द्रागिरिका विराज तामाङलाई हराए ।

खेलकुद

एमपीएल भोलिबाट

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– वी युनाइटेडको आयोजनामा महिला प्रिमियर लिग (एमपीएल) फुटसल प्रतियोगिता शनिबार सुरु हुँदै छ । आठ टोलीसम्मिलित प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा हुनेछ । नोभेम्बर ३ सम्म चल्ने प्रतियोगितामा हरेक शनिबार एक चरणको खेल हुनेछन् । पहिलो चरणका खेलहरू शनिबार मन्डिखाटारस्थित ग्रासरुट्स रिक्रिएसन सेन्टरमा खेलाइने छ । खेलको माध्यमबाट महिला सशक्तीकरणको नारासहित आयोजित कार्यक्रमलाई युरोपियन युनियनको सहयोग छ ।

खेलकुद

रेफ्री तालिम सकियो

छोटकरी
- कान्तिपुर संवाददाता

चितवन (कास)– फुटबल रेफ्रीका लागि भरतपुरमा आयोजित साताव्यापी तालिम सकिएको छ । चितवन जिल्ला फुटबल संघद्वारा आयोजित तालिममा चितवनका २० सहित धादिङ, काठमाडौं र नवलपरासीका गरी २५ सहभागी थिए । त्यसमा तीन महिला रहे । सहभागीमध्ये १७ जनाले परीक्षा उत्र्तीण गरी एन्फा रेफ्री लाइसेन्स पाएका छन् । महिलामा दित्या दराईले लाइसेन्स पाइन् । लाइसेन्स नै नपाए पनि तालिम पूरा गरेकाले फुटबल खेल सञ्चालन गर्नसक्ने पूर्व फिफा रेफ्री लव खत्रीले बताए । जिल्लाको सक्रियतामा रेफ्री तालिम क्षेत्रीय तहमा गरिएको चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि सिलवालले बताए ।

खेलकुद

जुडो खेलाडी बाकु जाने

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।


सेप्टेम्बर २० देखि २७ सम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले भाग लिने छन् । पुरुष ९० केजीमुनि रविन श्रेष्ठ, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि मोहन बम तथा महिलामा मनिता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र फुपुल्हामु खत्रीले ६३ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् ।


प्रशिक्षकमा मनोजबहादुर केसी र व्यवस्थापकमा प्रमोदप्रसाद नेपाल छन् । आईजेएफ एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य रहेका नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य पनि बाकु जाने छन् । दुई खेलाडी फुपु र मोहन हाल क्रमश: जापान र अस्ट्रेलियामा रहेकाले उनीहरू त्यतैबाट बाकु जाने छन् । मोहनबाहेक सबै खेलाडी १८ औं एसियाडको पहिलो खेलमै पराजित भएका थिए ।

खेलकुद

शिक्षकलाई भलिबल प्रशिक्षण

छोटकरी
- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– विद्यालयका खेलकुद शिक्षकहरूलाई भलिबलसम्बन्धी प्राविधिक र व्यावहारिक ज्ञान दिने उद्देश्यले भलिबल प्रशिक्षक एवं प्रशिक्षण तालिम बिहीबार हेटौंडामा सुरु भएको छ ।
स्व. केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा जिल्लाका सामुदायिक एवं संस्थागत स्कुुलका शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तथा निर्णायकसम्बन्धी तीनदिने तालिम सुरु गरिएको हो । स्कुलबाटै भलिबल खेलाडी उत्पादन गर्ने उद्देश्यले तालिम गरिएको जिखेविसका अध्यक्ष माधव तिमल्सिनाले वताए । तालिममा विजयकृष्ण वादे, विनोद श्रेष्ठ र सन्तोष श्रेष्ठले प्रशिक्षण दिनेछन् ।

 

Page 20
Page 21
हेल्लो शुक्रवार

नयाँ स्टार

घरेलु फुटबलमा थ्री–स्टारका लागि खेल्ने सुनीलको सबैभन्दा ठूलो विशेषता नै समान रुपमा माथिल्लो दर्जाको फुटबलमा स्तरीय प्रदर्शन गर्नु हो ।
- हिमेशरत्न बज्राचार्य

बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा पाकिस्तानविरुद्ध हारेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नाजुक बनेको थियो । तर, भुटान र आयोजक बंगलादेशलाई हराएर नेपालले अन्तिम चारको तय गर्‍यो । समूह चरणको खेलसम्म उत्कृष्ट प्रदर्शन गर्दै मिडफिल्डर सुनील वल नेपाली फुटबलमा नयाँ स्टारका रूपमा उदाएका छन् ।

 

नेपालले साफ च्याम्पिनसिप २०१८ का लागि दौरान ढाकाको सेख जमाल धनमुन्दी फुटबल मैदानमा अभ्यास गर्‍यो । सुरुका दिनमा त त्यस अभ्यासमा रुचि राख्ने कमै थिए । जति बेला नेपालले बंगलादेशलाई हराएर सेमिफाइनल यात्रा पक्का गर्‍यो, त्यसपछिको अभ्यास हेर्न आउनेको संख्या बाक्लै भयो । त्यसमा मिडिया त थियो नै, सँगै बंगलादेशकै केही क्लबका पदाधिकारी पनि थिए । यी सबैको ध्यान एकै खेलाडीमा केन्द्रित थियो । उनी थिए, सुनील वल ।
ती केही पदाधिकारी सुनीलसँग कसरी सम्पर्क राख्ने हो, त्यसबारे सोधपुछ गरिरहेका थिए । आशा गरौं, उनीहरू सोधपुछमै मात्रै सीमित नहोस् । यसपल्टको साफ च्याम्पियनसिपमा नेपालका लागि कुनै एक खेलाडीले सबैभन्दा बढी प्रभावशाली प्रदर्शन गरेको छ भने उनी हुन्, तिनै सुनील । त्यस अगाडि ढाका पुगेको नेपाली टिमका प्रमुख तथा पूर्वखेलाडी एवम् प्रशिक्षक कृष्ण थापाले पनि उनको प्रशंसा गर्न कन्ज्युस्याइँ गरेनन् । खुबै प्रभावित देखिए, उनी ।


हाल अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष रहेका थापाको भनाइ थियो, हेर्दै आऊ, बंगलादेशी क्लबले सुनीलबारे बुझ्न चाहने छन् । ‘खुबै राम्रा देखिए, यी खेलाडी,’ थापाको भनाइ थियो । हेटौंडाका यी २० वर्षीय खेलाडीले एन्फा एकेडेमीबाट आफ्नो खेल जीवन सुरु गरेका हुन् । उनी कत्तिको खेलाडी हुन्, नेपाली फुटबललाई नजिकबाट बुझेकालाई धेरै थाहा थियो । तर उनी चर्चामा भने धेरै आएनन् । एन्फामा उनी विमल घर्तीमगर र अनन्त तामाङको ‘ब्याच’ का खेलाडी हुन् ।


खासमा उनी यिनै दुई खेलाडीको छायामा परे । विमल र अनन्तले त चाँडै टिममा प्रवेश पाए, तर सुनीलले भने केही लामो समय कुर्नुपर्‍यो । लाओसविरुद्धको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका सुनीलले त्यसयता अर्को खेल खेल्न यही साफ च्याम्पियनसिप कुर्नुपर्‍यो । लगभग दुई वर्ष अगाडिको त्यो डेब्युयता उनी जापानी प्रशिक्षक ग्योतोकु कोजीको रोजाइमा परेनन् । यसपल्टको साफ च्याम्पियनसिपको जिम्मेवारीबाट कोजी बाहिरिए र उनको स्थानमा मौका पाए, बालगोपाल महर्जनले ।


सुनीललाई निकै नजिकबाट चिन्नेमा यिनै प्रशिक्षक महर्जनभन्दा अरू को नै हुन सक्छन् ? उनले पाकिस्तानविरुद्ध सुनीललाई मैदानमा उतारे, सब्स्टिच्युटका रूपमा । त्यो खेल गुमाएयता नेपाल ठूलै दबाबमा आयो । भुटानविरुद्धको खेल नेपालका लागि ‘गर या मर’ को स्थिति बन्यो । यसैमा उनले पहिलो पल्ट सुरुदेखि खेल्ने मौका पाए । टिम मिटिङमै उनले यसबारे जानकारी पाए । उनको खुसीको सीमा रहेन । फेरि उनलाई विश्वास पनि भइरहेको थिएन, साँच्चै आफूले ‘स्टार्टिङ लाइन–अप’ मा नाम परेकोमा ।


‘ओहो, जस्तो लागेको थियो,’ पछि उनले भने । सुनीलले यो मौकाको सदुपयोग भने खुबै गरे । भुटानमाथि प्राप्त जित ४–० को थियो । त्यसमा एक गोल उनकै रह्यो, डेब्यु गोलका रूपमा । विमल घर्तीमगरको पेनाल्टी भुटानी गोलरक्षकले बचाएपछि उनले निकै फूर्तिलो ढंगले बललाई पोस्टको दिशा दिएका थिए । त्यसलाई छाडेर अरू दुई गोलमा भने उनकै ‘एसिस्ट’ थियो । खेलका कमेन्ट्री गरिरहेकाले पनि बारम्बार उनकै प्रशंसा गरिरहेको थियो ।


बंगलादेशविरुद्धको खेलमा पनि उनले आफ्नो छाप छाडे । ‘सबैभन्दा पहिला मलाई अवसर दिनुभएकामा बालगोपाल सरलाई धन्यवाद,’ उनले आफ्ना प्रशिक्षकको गुण बिर्सन चाहेनन् र थपे, ‘यस्तै मौका पाउने हो भने म अझ राम्रो प्रदर्शनका लागि मिहिनेत गर्नेछु ।’ घरेलु फुटबलमा थ्री–स्टारका लागि खेल्ने सुनीलको सबैभन्दा ठूलो विशेषता नै समान रूपमा माथिल्लो दर्जाको फुटबलमा स्तरीय प्रदर्शन गर्नु हो, उनको खेलमा उतारचढाव विरलै देखिएको छ ।


सम्भवत: उनको खेल जीवनको ‘टर्निङ प्वाइन्ट’ रह्यो, यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा अफगानिस्तानविरुद्ध गोल गर्नु । त्यो गोलले उनको नाम स्थापित हुन धेरै मद्दत गरेको थियो । राष्ट्रिय लिगमा पनि उनले खेले, तर जति बेला थ्री–स्टार आए, उनको खेल अझ सुदृढ हुन थाल्यो । थ्री–स्टारमा उनको भूमिका हो, ‘राइट विंगर’ को । भुटानविरुद्धको खेलमा देखिएभैंm ‘डेड बल’ को स्थितिमा उनी निकै सशक्त देखिन्छन् । अनि बलसँगको उनको तीव्र गतिलाई मान्नै पर्छ ।

twitter:@himeshratna

 

मलाई खुबै मन पर्ने खेलाडी हुन्, सुनील वल । मैले सुरुआती दिनदेखि उनको खेल हेरेको छु । उनी निकै प्रतिभाशाली खेलाडी हुन् । नेपाली फुटबलले उनीबाट धेरै आशा गर्न सक्छ ।
बालगोपाल महर्जन
मुख्य प्रशिक्षक, राष्ट्रिय टिम

 

सुनील वल नयाँ पुस्ताका खेलाडी हुन् र उनले लामो समय नेपाली फुटबलको सेवा गर्नेछन् । उनको खेलबाट म खुबै प्रभावित छु । उनले भविष्यमा अझ राम्रो गर्ने हो भने नेपाली फुटबलले पनि सफलता हात पार्न सक्छ ।
विराज महर्जन
कप्तान, राष्ट्रिय टिम

 

 

Page 22
हेल्लो शुक्रवार

सिक्स प्याक एब्स

अधिकांश युवा देखासिकीकै भरमा जिमखाना आउँछन् । आफ्नो साविकको शरीरमा सुगठित परिवर्तन देखाउन भने कम्तीमा ६ महिना समय लाग्छ ।
- हेमन्त श्रेष्ठ

व्यायाम गर्नेहरूमाझ एउटा भनाइ छ– ‘सबैसँग ‘सिक्स प्याक एब्स’ हुन्छ । तर शरीरमा भएको बोसो भरिएर नदेखिने हुन्छ, यो देखाउन इच्छाशक्ति हुनेले शारीरिक अभ्यासका साथै व्यायाम गर्न जरुरी छ ।’


इतिहासको कालखण्डमा दुई व्यक्तिका बीचमा लडिने कुस्ती जसलाई ‘मल्ल युद्ध’ का नामले पनि चिनिन्छ । त्यसका लागि प्रतिस्पर्धीबीचमा बलिष्ठ र खाइलाग्दो शरीर बनाउने चलन रहेको पाइएको छ । समयक्रममा यो परिमार्जन हुँदै आयो । आधुनिक युगमा सुगठित शरीरका साथै पेटमा ‘सिक्स प्याक एब्स’ निकाल्न तम्सिने युवा पुस्ता प्रशस्त भेटिन थालेका छन् । हलिउड फिल्म उद्योगमा एक जमानाका चर्चित टर्मिनेटर फिल्म सिरिजका अभिनेता आर्नोल्ड स्वार्जनेगर र रेम्बो सिरिजका सिल्भेस्टर स्टालिनका फ्यानहरू तिनको जस्तो आकर्षक शरीर बनाउन लालायित हुन्थे । पछि यस्तो मोह भारतीय फिल्म उद्योग बलिउड हुँदै नेपालकै कलिउडमा समेत भित्रियो । बलिउडमा त पछिल्लो पुस्ताका अधिकांश कलाकारले सिक्स प्याक एब्सको ‘ट्रेन्ड’ नै बसाए ।


नेपालमा राणा कालको जगजगीका बेला पनि सहिद धर्मभक्त माथेमा तत्कालीन राजा त्रिभुवनका व्यक्तिगत व्यायाम प्रशिक्षक रहेको बताइन्छ । धर्मभक्तको जति पनि तस्बिरहरू
देख्ने गरेका छौं, तिनमा देखिएको उनको सुगठित शरीर यसको ऐतिहासिक प्रमाण हुन सक्छ । उनको स्मृतिमा हरेक वर्ष शारीरिक सुगठन प्रतियोगिता धर्मश्री हुने गरेको छ ।


सुगठित शरीर बनाउन लालायित हुने अहिलेका पुस्ता सम्भव भएसम्म समय व्यवस्थापन गरेर जिमखाना धाउने गर्छन् । अचेल पेचिलो सवाल उठ्ने गरेको छ– जिमखाना धाउँदैमा आफूले भनेजस्तो शरीर कहाँ बन्छ ? विगत ११ वर्षदेखि ललितपुरको ताल्छीखेलस्थित रेज फिटनेसमा व्यायाम सिकाउँदै आएका काजीमान मगरातीका अनुसार नियमित शारीरिक व्यायामसँगै खानपान र त्यसबेला अपनाइने जीवनशैलीले समेत प्रभाव पार्छ । देखासिकी भन्दा पनि नियमित रूपमा व्यायाम गरी स्वस्थ खानपानका साथै अनुशासित जीवनशैलीले शारीरिक क्षमतामा प्रभाव पार्ने उनको ठम्याइ छ ।


‘अधिकांश युवा देखासिकीकै भरमा जिमखाना आउँछन् । आफ्नो साविकको शरीरमा सुगठित परिवर्तन देखाउन भने कम्तीमा ६ महिना समय लाग्छ । त्यसका लागि उचित खानपानसँगै नियमित कसरत जरुरी छ,’ मगरातीले भने ।

सुगठित शरीरलाई देखाउने प्रतिस्र्धाका रूपमा बडीबिल्डिङ च्याम्पियनसिप नियमित भइरहेका छन् । राष्ट्रिय नाचघरमा दुईदिने तेस्रो मिस्टर काठमान्डु बडीबिल्डिङ तथा लेडिज फिटनेस च्याम्पियनसिप शनिबार सम्पन्न भयो । यसमा २१ वर्षसम्मकाले जुनियरको स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । यस्ता प्रतियोगिताले युवा पुस्ताको ध्यान आकृष्ट पार्ने गरेको छ । यसपालि मिस्टर काठमाडौंमा विसन गुरुङ र लेडिज फिटनेसमा शोभा मानन्धरले बाजी मारे । जुनियरमा किशोर कार्कीले सफलता हात पारे । मिस्टर काठमाडौंमा ७४, लेडिज फिटनेसमा ५ र जुनियरमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए ।


प्रतियोगिता तयारीका लागि मिहिनेत त छँदै छ, त्यसका लागि समेत धेरै रकम खर्च हुने गरेको प्रतियोगितामा सहभागीहरूले बताए । बडीबिल्डिङ खेलकुदमा पनि खासै प्राथमिकतामा पर्दैन । त्यसैले बडीबिल्डिङलाई राज्यले पनि उपेक्षा गरेको बताइन्छ । यसमा लगानी गर्न सके युवा पुस्ता स्वस्थ हुनेसँगै उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सफलता पनि दिलाउन सक्छन् ।

twitter : @sthemanta

हेल्लो शुक्रवार

जस्टिन, चर्चा र विवाद

क्यानडियन गायक जस्टिन बिबर टिनएजमै सुपरस्टार बनेका थिए । फेसबुकमा ७ करोड ७८ लाख र ट्वीटरमा १० करोड ४ लाख बढी फलोअर्स रहेका उनी अचेल के गरिरहेका छन् त ?
- कान्तिपुर संवाददाता

हेर्दाहेर्दै गायक जस्टिन बिबर हलक्कै बढे । उनको स्वर फेरियो, शैली पनि । उनका अराजक गतिविधिलाई लिएर टीक्काटिप्पणी हुन थाले । अनि लभ अफेयरका गन्ती चालु भयो । अहिले उनी हाली बाल्डविनसँगको सम्बन्ध र तोबियास क्यानोनसँगको विवादका कारण चर्चामा छन् । उनी प्राय: मिडियामा छाइरहेकै हुन्छन् ।


आठ वर्षअघि ‘बेबी, बेबी...’ गाउने जस्टिन अचेल ‘आम द वान...’ भन्दै गरेका सुनिन्छन् । उनको बच्चा स्वर अहिले वयस्क भइसकेको छ । रियालिटी सो हुँदै मूलधारको विश्व संगीतमा आएका उनी अधिकांश आफ्ना नयाँ गीतका लागि टप चार्टको सूचीमा पर्छन् । तर, अटो–ट्युन र प्रविधिको सहाराले स्वर तन्काएको आरोप उनीमाथि लाग्ने गरेको छ ।


यी क्यानडेली गायक पछिल्लो पटक संयुक्त गायनमा बढी सुनिएका छन् । डीजे खालिद, डीजे स्नेक, डेभिड गुएटा, सेलेना गोमेज, द चेनस्मोकर्स लगायतसँग उनले सह–गायन गरेका छन् । लुइस फोन्सी र ड्याडी यांकीको ‘डिस्पासितो...’ को अङ्ग्रेजी भर्सनमा पनि जस्टिन उत्तिकै रचाइए । उनका सोलो गीतहरूमा ‘लभ योरसेल्फ...’, ‘सरी...’, ‘ह्वाट डु यु मिन...’ जस्ता गीत राम्रै चले ।


पप र आर एन्ड बी विधामा जस्टिनले आफूलाई स्थापित गरेका छन् । बाह्र वर्षको छँदादेखि गाउन थालेका उनी सानै उमेरमा परिचित बने । उनको कलिलो स्वरमा अभ्यस्त श्रोता सन् २०१० को अमेरिकन म्युजिक अवार्ड हेरेपछि आश्चर्यमा परेका थिए । त्यो बेला जस्टिनको स्वर धोद्रो भएको थियो । कतिपय संगीत समालोचकले जस्टिनालाई ‘धोद्रो स्वर तिम्रा लागि अभिशाप बन्न सक्छ’ भन्दै चेतावनी पनि दिए ।


जस्टिनले जान स्मिथसँग भोकल क्लास लिए र आफ्नो नयाँ स्वरलाई लयमा ल्याए । अनि फटाफट म्युजिक भिडियो बनाउन थाले । उनले हालसम्म ‘माई वल्र्ड’, ‘अन्डर द मिसल्टो’, ‘बिलिभ’ र ‘पर्पस’ एल्बम निकालेका छन् । सन् २००७ मा ने–योको ‘सो सिक अफ लभ सङ...’ गाएर प्रतियोगितामा दोस्रो भएपछि उनी गायनमा लागेका थिए ।


उनले गाउँदै गरेको भिडियो कसैले युट्युबमा राखिदिएको थियो । ठूला कम्पनी र गायक उनलाई खोज्न थाले । जस्टिन टिम्बरलेक र युसरबीच फुच्चे जस्टिनलाई लिएर हानाथाप भएको थियो, यी दुवै स्थापित गायक एवं प्रोड्युसर उनलाई लिन चाहन्थे । तर, जस्टिन परे युसरको भागमा । उनले सन् २००८ देखि युसरको सामीप्यमा रहेर गाए ।


गायनका लागि जस्टिन जति नामी भए आनीबानीलाई लिएर उत्तिकै बदनाम पनि बने । आफ्ना अराजक हर्कतले उनलाई कठघरासम्मै पुर्‍यायो । मादक पदार्थ सेवन गरेर गाडी चलाएपछि उनी सन् २०१४ मा जेल परे । ब्राजिल र कम्बोडिया टुरमा छँदा व्यस्त सडकमा उपद्रो गरेपछि उनलाई जरिवाना तिराइएको थियो ।


क्यालिफोर्नियास्थित आफ्नै छिमेकीको घरमा अण्डा फ्यालेर जस्टिनले साथीहरूसँग हाई–फाइभ गरेको भिडियो प्रहरीसम्म पुगेको थियो । अनि उनलाई बाह्र हप्ते तनाव व्यवस्थापनको कक्षा लिन लगाइयो । फ्यानलाई झापड हान्नेदेखि काला जातिको खिसी गरेको मुद्दामा पनि जस्टिनको चर्को आलोचना भएको थियो । यी विषयमा उनले एक–दुईचोटि माफी समेत माग्नुपरेको थियो ।


क्यानाडेली भए पनि अमेरिका बस्दै आएका जस्टिनलाई स्थानीयले स्वदेश फिर्ता पठाउन माग गर्दै ह्वाइट हाउसलाई बिन्तीपत्र पनि पठाएका थिए । उनलाई अमेरिकामा प्रतिबन्ध लगाउनुपर्ने तिनको माग थियो । सन् २०१७ मा उनलाई चीन भ्रमणको स्वीकृति नै दिइएन । ‘जस्टिन राम्रा गायक हुन् तर विवादास्पद छन्,’ चीनले भनेको थियो, ‘हाम्रो संस्कृति स्वच्छ रहोस् भन्नका लागि खराब व्यहोरा भएका प्रस्तोता यहाँ ल्याउनु उचित छैन ।’


‘क्यानडियन क्युटी’ बाट ‘इन्टरनेसनल ब्याड ब्वाई’ मा परिणत भएका जस्टिनको उतारचढावलाई फिल्ममा उतारिएको छ । टम हल्यान्डले अभिनय गरेको ‘अनबिलिभएबल : जस्टिन बिबर्स एक्सपेरियन्स’ फिल्ममा एउटा सानो पपस्टारले वयस्कहरूको संसारमा कसरी संघर्ष गरे भन्ने देखाइएको छ । संगीतप्रेमीले यो बायोपिक हेर्नैपर्ने बीबीसीको सुझाव छ ।
एजेन्सीहरूबाट

Page 23
हेल्लो शुक्रवार

पाइलाको फड्को

दरबारमार्गको नौलो रेस्टुराँका वेटर रोबोट र दरबारमार्गकै एसबीआई बैंकमा आगन्तुकलाई स्वागत गर्न राखिएका रोबोटको केही समययता निकै चर्चा भइरहेको छ । तिनको निर्माण यही पाइला टेक्नोलोजीले गरेको हो ।
- विभु लुइटेल

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गरेका विद्यार्थीद्वारा स्थापित ‘पाइला’ ले रोबोट उत्पादन गरेर स्थानीय बजारमा ल्याइसकेको छ । विश्वका सयौं देशका प्रतिस्पर्धीसँग पाइलाले डेनमार्कको कोपनहेगनमा नोभेम्बर २०१८ मा हुने ‘स्टार्टअप ओलम्पिक्स’ मा पनि प्रतिस्पर्धा गर्दैछ ।


कला क्षेत्रमा काम गर्ने स्टार्टअपदेखि नेपालमा उपलब्ध स्रोत–साधन प्रयोग गरी सामान उत्पादन गर्नेसम्मका दर्जनौं कम्पनीले अन्तर प्रेरणाद्वारा अघिल्लो साता आयोजित सिर्जनशील बिजनेस प्रतियोगितामा सहभागिता जनाएका थिए । सबै एकसेएक अब्बल, सबैका परियोजना विश्व बजारमा तहल्का पिट्ने खालका थिए । यसमाझ परियोजनामध्ये पाइला टेक्नोलोजी सर्वोत्कृष्ट ठहरियो । विश्वका सयौं देशका प्रतिस्पर्धीसँग पाइलाले डेनमार्कको कोपनहेगनमा नोभेम्बर २०१८ मा हुने ‘स्टार्टअप ओलम्पिक्स’ मा प्रतिस्पर्धा गर्नेछ ।


दरबारमार्गको नौलो रेस्टुराँका वेटर रोबोट र दरबारमार्गकै एसबीआई बैंकमा आगन्तुकलाई स्वागत गर्न राखिएका रोबोटको केही समययता निकै चर्चा भइरहेको छ । तिनको निर्माण यही पाइला टेक्नोलोजीले गरेको हो । उच्चस्तरीय रोबोट हेर्दा लाग्न सक्छ, वर्षौंको अनुभवले खारिएका वैज्ञानिकको हात यसमा छ । तर, यसका पछाडि दुई वर्षअघि मात्र पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ सकेका केही होनहार युवा छन् । यिनले निरन्तरको मिहिनेत र लगनबाटै अनुभवीसरह आफूलई सिद्ध गरिदिएका छन् ।


‘क्याम्पसको क्यान्टिनमा खाजा खाँदा आएको आइडियालाई वास्तविकतामा परिणत गरेका हौं,’ दुई वर्षअघि स्थापित पाइलाका सञ्चालकमध्ये एक दीपकमल भुसाल बताउँछन् । पुल्चोक क्याम्पसमा छुट्टै रोबोटिक्स क्लब नै छ । यहाँ उपलब्ध सीमित स्रोत–साधन प्रयोग गरी विद्यार्थी आफैं सिक्दै रोबोट बनाउँछन् ।


कोही विदेश जाने क्रममा थिए त कोही ठूल्ठूला कम्पनीमा जागिर खोजिरहेका थिए । आर्टिफिसियल इन्टलिजेन्स (एआई) र रोबोटिक्सको नशाजस्तै भइसकेको सात जना युवाले भने विदेशलाई विकल्पका रूपमा कहिल्यै देखेनन् । अनि, नेपालमा धराशायी अवस्थामा रहेको रोबोटिक्स क्षेत्रमा कसैले जागिर दिन्छ भन्ने पनि थिएन । त्यसैले आफ्नै कम्पनी खोले । हालसम्म पाइलाले रोबोटिक्सका विभिन्न आयामका अध्ययन–अनुसन्धानमा एक करोडभन्दा बढी खर्च गरिसकेका छन् । दीपकमल भन्छन्, ‘अहिलेसम्म नाफा त भएको छैन । तर, आस मारिहाल्ने अवस्था पनि छैन ।’


एसबीआई बैंकमा रहेको ‘परी’ नामक रोबोटले ढोकाबाट पस्नेबित्तिकै जोकोहीलाई पनि नमस्कार गर्छ, निस्कन लागेकालाई धन्यवाद ज्ञापन गर्छ । यतिमात्र नभएर त्यसमा जडित स्क्रिनको प्रयोग गरी बैंकिङका विधि जान्न सकिन्छ । नौलो रेस्टुराँमा रहेको ‘जिन्जर’ नामक रोबोटलाई पाइलाका अर्का संस्थापक विनय राउत विश्वकै उत्कृष्ट वेटर रोबोट भन्न रुचाउँछन् । उनी अरूको रेस्टुराँमा रोबोट परीक्षण गर्न आइपर्न सक्ने कठिनाइबारे पहिले नै सजग थिए । त्यसैले जिन्जरको सफल परीक्षण गर्न यिनले नौलो रेस्टुराँ खोलेका हुन् । पाइलाका अन्य संस्थापक विश्वकै पहिलो नागरिकता प्राप्त ह्युमनोइड रोबोट सोफियामा प्रयोग भएका प्रविधिबारे पनि जानकार छन् । विनय भन्छन्, ‘सोफियामा नौलो प्रयोग गरिएको उसको छाला र अनुहारका भावमात्र हुन् ।’ सोफियाभन्दा जिन्जर धेरै हिसाबले स्मार्ट रहेको उनको जिकिर छ ।


खिचापोखरीस्थित केकेएफसी रोबोट वेटर प्रयोग गर्ने नेपालकै पहिलो रेस्टुराँ हो । तर, ती रोबोट नेपालमा बनेका नभई चीनबाट मगाइएका हुन् । त्यहाँको प्याङ्गोलिन रोबोटिक्स कम्पनीले विश्वभर वेटर रोबोटलगायत अन्य रोबोट निर्यात गर्छ । पाइलाका नीरज बस्नेत भन्छन्, ‘अब हामी पनि छिट्टै अन्तर्राष्ट्रिय बजारमा जाँदै छौं । त्यति बेला प्याङ्गोलिन नै हाम्रो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी होला ।’


पाइलाका अन्य परियोजना पनि छन् । अन्य बैंकसँग मिलेर यिनले परीभन्दा पनि राम्रा गुणस्तरका अन्य रोबोट ल्याउँदै छन् । विभिन्न कम्पनीका फेसबुक पेज तथा वेबसाइटका लागि बहुभाषी च्याट बोटमा पनि काम गर्दै छन् । आउने दस वर्षमा पाइलालाई कहाँ देख्नुहुन्छ ? ‘चीन, भारत, अमेरिकालगायत विश्वका ठूल्ठूला देशमा पाइलाका शाखा हुनेछन् । सुन्दा महत्त्वाकांक्षी सुनिएला । तर, हामीले पहल गरिसकेका छौं,’ दीपकमलको जवाफ प्रस्टै थियो ।

twitter : @LuitelBibhu

हेल्लो शुक्रवार

थ्रीडी प्रिन्टिङमा आशा

- हेलो शुक्रबार

कम्प्युटर र प्रिन्टर निर्माणमा अनुभव हासिल गरेको कम्पनी एचपीले यसै साता आफ्नो नयाँ थ्रीडी प्रिन्टर सार्वजनिक गरेको छ । यो छिटो र सस्तो पर्ने गरी मेटल प्रयोग गरी विभिन्न उपकरण उत्पादनका लागि सहयोगी हुने कम्पनीले जनाएको छ । यो प्रिन्टर कस्तो हुनेछ ?

 

पछिल्ला वर्ष थ्रीडी प्रिन्टिङको विषयलाई लिएर ठूलो चासो छ किनकि मानिसको अपेक्षा छ कि यसले मानिसलाई सहज हुने गरी ठूला–ठूला सामग्रीहरू उत्पादन गर्न सक्छ । यसको लागत र समय निकै कम हुनेछ । तर, मानिसको यो अपेक्षा अहिलेसम्म पूरा भइसकेको छैन किनकि चलनचल्तीका अधिकांश थ्रीडी प्रिन्टरले प्लास्टिकबाट स–साना सामान डिजाइन मात्रै गरिरहेका छन्, त्यो पनि महँगो लागत र ढिला गरी ।


कम्प्युटर र प्रिन्टर उत्पादनमा अनुभवी कम्पनी एचपीले यसै साता थ्रीडी प्रिन्टिङको भविष्यप्रति केही आशावादी बनाएको छ । अब साइन्स फिक्सनमा उल्लेख गरेजस्तै एचपीले आफ्नो नयाँ थ्रीडी प्रिन्टर सार्वजनिक गरेको छ– मेटल जेट । कम्पनीको दाबीअनुसार काम भए एचपीको यो थ्रीडी प्रिन्टरले अब चाँडै नै उद्योगले जसरी केही ठूला सामान उत्पादन गर्नेछ, त्यो पनि ‘मास प्रडक्सन स्केल’ मा । अर्थात् एचपीको प्रिन्टर अब सानोतिनो उद्योगले जसरी काम गर्न सक्नेछ त्यो पनि समय र लागत कम हुने गरी ।


कम्पनीले मेडिकल र कारका पार्टपुर्जा उत्पादक कम्पनीसँग मिलेर मेटल जेट थ्रीडी प्रिन्टर बनाएको हो । यसकारण यसै प्रिन्टरबाट उत्पादित कारका सामान र मेडिकल उपकरणका पार्टपुर्जा देख्न धेरै वर्ष कुर्नुपर्ने छैन तर केही महिना भने पक्कै प्रतीक्षा गर्नुपर्ने हुन्छ । एचपीका अनुसार उसको नयाँ थ्रीडी प्रिन्टर आगामी वर्षदेखि बजारमा आउनेछ, सीमित मात्रामा । बजारमा यसको व्यापक उपस्थिति भने सन् २०२० तिर मात्रै देखिने कम्पनीले जनाएको छ ।


एचपीले यसअघि जेट फ्युजन नामक थ्रीडी प्रिन्टर उत्पादन गरेको थियो जसले प्लास्टिकबाट सामग्रीहरू ठूलो परिमाणमा बनाउन सक्थ्यो । नयाँ प्रिन्टरले भने स्टिलको प्रयोग गरी सामग्रीहरू उत्पादन गर्न सघाउनेछ । एचपीले पार्माटेक र जीकेएन कम्पनीसँगको सहकार्यमा मेटल जेट प्रिन्टर सार्वजनिक गरेको हो । पार्माटेकले मेडिकल उपकरणको निर्माण गर्दै आएको छ भने जीकेएनले भने मोटर र जहाजका पार्टपुर्जा उत्पादन गरिरहेको छ । जीकेएनले चर्चित मोटर कम्पनीका लागि पार्टपुर्जा बनाइरहेको छ । यी कम्पनीहरूको सहकार्यका कारण एचपीको थ्रीडी मोटर प्रिन्टरबाट उत्पादित सामग्रीहरू चाँडै परीक्षणका लागि कार र मेडिकल उपकरणको प्रोटोटाइपमा प्रयोग हुने अनुमान गरिएको छ ।


एचपीले मेटल जेटबाट मोटरको पार्ट्स उत्पादनका लागि जर्मन कार निर्माता भक्सवागनसँग पनि सम्झौता गरिसकेको छ । सम्झौताअनुसार भक्सवागनले सम्भवत: सन् २०२५ सम्ममा आफ्ना केही कारमा परीक्षणका रूपमा थ्रीडी प्रिन्टरमार्फत प्रिन्ट गरिएको केही पार्टपुर्जा प्रयोग गर्न सक्छ । साथै, कम्पनीले जोन्सन एन्ड जोन्सन मेडिकल डिभाइस निर्मातासँग पनि परीक्षणका रूपमा उपकरण निर्माण गर्ने सम्झौता गरेको छ । परीक्षणअनुसार यसै प्रिन्टरमार्फत स्वास्थ्यकर्मीले प्रयोग गर्ने कैंचीलगायतका उपकरण निर्माण गरिनेछ ।


आकारमा ठूला र एकै पटक ठूलो परिमाणमा उत्पादन गर्न सक्ने थ्रीडी प्रिन्टर किन पनि आवश्यक छ भने यसले मेसिन वा मानिसले उत्पादन गर्ने खालका भन्दा फरक उपकरणको निर्माणमा ठूलो सहयोग पुर्‍याउन सक्छ । जस्तो कि कुनै उपकरण बलियो तर हलुका खालका आवश्यक पर्छ भने थ्रीडी प्रिन्टिङ त्यस्ता उपकरण उत्पादनमा महत्त्वपूर्ण सहयोगी बन्न सक्छ ।


आफूले थ्रीडी प्रिन्टिङका लागि फरकखाले प्रविधि अवलम्बन गरेकाले यो पहिलेका भन्दा बढी सस्तो र छिटो हुने एचपीको दाबी छ । मेटल जेटमा उसले बाइन्डर जेट प्रिन्टिङ नामक प्रविधि प्रयोग गरेको छ । हेर्दा वासिङ मेसिनजस्तो देखिने यो प्रिन्टरले मेटल पाउडरको तहलाई छरेर सामान बनाउन सहयोग गर्छ ।

[email protected]

हेल्लो शुक्रवार

इन्स्टाग्राम भिडियोमा ट्याग

हेलोटेक
- कान्तिपुर संवाददाता

फोटो सेयरिङ साइट इन्स्टाग्रामले केही समयपछि आफ्ना प्रयोगकर्तालाई भिडियो ट्याग गर्ने सुविधा पनि दिने भएको छ । इन्स्टाग्रामले अहिले फोटोमा मात्रै यो सुविधा दिएको छ । भिडियो ट्यागको लागि इन्स्टाग्रामले सीमित प्रयोगकर्तामाझ परीक्षण गरिरहेको छ ।


फेसबुक स्वामित्वको इन्स्टाग्रामले सन् २०१३ देखि फोटोमा ट्याग गर्न मिल्ने सुविधा सुरु गरेको हो । सोही वर्षदेखि नै इन्स्टाग्रामले भिडियो सेयरिङ सुविधा दिएको भए पनि ट्याग गर्ने सुविधा भने राखेको थिएन । इन्स्टाग्रामले यसअघि नै स्टोरिजमा ट्याग गर्ने सुविधा सुरु गरिसकेको छ ।
फोटो सेयरिङ साइट पछिल्लो समय भिडियोमा बढी केन्द्रित छ । केही महिनाअघि मात्रै इन्स्टाग्रामले प्रयोगकर्ताको लागि आफ्नो एपमा भिडियो हेर्ने छुट्टै सुविधा दिनका लागि आईजीटीभी सुरु गरेको थियो ।

हेल्लो शुक्रवार

सिक्स टी स्क्रिनमा फिंगर प्रिन्ट सेन्सर

हेलोटेक
- कान्तिपुर संवाददाता

अबको केही सातामै सार्वजनिक हुने अपेक्षा गरिएको फोन वान प्लस सिक्स टीको स्क्रिनमै पिंmगर प्रिन्ट सेन्सर हुने भएको छ । वान प्लसले यसको पुष्टि गर्दै प्रयोगकर्ताको सहजताका लागि यस्तो सुविधा ल्याउन लागेको जनाएको छ ।


प्रविधिसम्बन्धी वेबसाइट सिनेटलाई वान प्लसका प्रतिनिधिले इमेलमार्फत यस्तो जानकारी गराएका हुन् । ‘हामीले फोन दिनमा धेरै पटक खोल्नुपर्ने हुन्छ, निश्चित ठाउँमा औंलाले थिचेपछि मात्रै खुल्ने सुविधाभन्दा स्क्रिनमा जहाँ थिचे पनि खुल्ने सुविधा बढी राम्रो हुन्छ,’ कम्पनीले भनेको छ ।


कम्पनीले वान प्लस फाइभमा यो सुविधा राख्न खोजे पनि नसकिएको जनाइएको छ । सन् २०१३ मा आइफोन फाइभ एसमा पहिलो पटक फिंगर प्रिन्ट सेन्सर राखिएको थियो । त्यसयताका अधिकांश फोनमा पिंmगर प्रिन्ट सेन्सर अनिवार्यजस्तै बनेको छ ।

हेल्लो शुक्रवार

नोकिया नाइनमा ५ क्यामरा

हेलोटेक
- कान्तिपुर संवाददाता

एचएमडी ग्लोबले सार्वजनिक गर्न लागेको आगामी स्मार्टफोन नोकिया नाइनको पछाडिको भागमा मात्रै ५ वटा क्यामरा रहने भएको छ । यसैसाता नोकिया नाइनको भनी दाबी गरिएको ‘लिंक’ मा यस्तो उल्लेख छ ।


सार्वजनिक भएको तस्बिर साँचो भए नोकिया नाइन ५ वटा रेअर क्यामरा प्रयोग गर्ने पहिलो स्मार्टफोन हुनेछ । नोकिया नाइनमा हुने ५ वटै क्यामेराको काम भन्नै हुनेछन् । यसै वर्ष सार्वजनिक चिनियाँ कम्पनी हुवावेको नयाँ स्मार्टफोन पी ट्वान्टी प्रोमा रेअर क्यामरा मात्रै ३ वटा प्रयोग गरिएको थियो । क्यामरा केन्द्रित भएर बनाइएको उक्त फोनमा ४०, २० र ८ मेगापिक्सेलको क्यामरा प्रयोग गरिएको छ ।

 

Page 24
हेल्लो शुक्रवार

नयाँ क्याप्टेन

कलाकारबाट काम लिने सूत्र थियो, सिनियरलाई सम्मान गर्ने र नयाँलाई सिकाउने । यो सूत्र धेरै हदसम्म सफल भयो ।
- कान्तिपुर संवाददाता

नेपाली फिल्म उद्योगमा महिला निर्देशकको रिक्तता छ । त्यसलाई पूर्ति गर्न आइपुगेका छन्, रेनशा बान्तवा राई र संगीता श्रेष्ठ । यी दुई निर्देशकबारे गोकर्ण गौतम लेख्छन् :


इन्टु मिन्टु लन्डनमा ४ असोजमा प्रदर्शन हुँदै छ, त्यसको एक साता पछि कथा काठमाडौं । फिल्म त अरु पनि आउँदैछन् तर यहाँ यी दुईलाई मात्र उल्लेख गर्नुको कारण छ । त्यो हो, दुवै फिल्मका निर्देशक महिला हुन् । इन्टु मिन्टु लन्डनमालाई रेनशा बान्तवा राईले निर्देशन गरेकी हुन् भने कथा काठमाडौंलाई संगीता श्रेष्ठले । रोचक पक्षचाहिँ दुवैको यो डेब्यु फिल्म हो ।


हामीकहाँ मात्र होइन, संसारकै फिल्म उद्योगमा पुरुषको दबदबा छ । महिला निर्देशक नगन्य नै छन् । हामीकहाँ विस्तारै बदलाव देखिन थालेको छ । व्यावसायिक रेकर्ड राख्न सफल फिल्म छक्का–पञ्जा र छक्का–पञ्जा– २ को निर्देशक महिला नै हुन्, दीपाश्री निरौला । गत वर्ष झरना थापा निर्देशित ए मेरो हजुर– २ पनि हिट भयो । यही लिगेसीलाई निरन्तरता दिने संकेत मिलेको छ, रेनशा र संगीताले । उनीहरूका फिल्मले पर्याप्त ‘हाइप’ बटुलिरहेका छन् । रेनशा हाँस्दै भन्छिन्, ‘अब त मलाई महिला निर्देशककै बेला आएजस्तै लाग्छ । हामी गरेरै देखाउँछौं ।’


धेरैलाई हेक्का नहोला, रेनशा नेपाली फिल्मकी ‘ट्रेन्ड–सेटर्स’ कोरियोग्राफर हुन् । उनले मेरो एउटा साथी छ बाट हिरो–हिरोइनका पहिरन, नाच्ने शैलीदेखि खिच्ने तरिकासम्ममा नयाँपन भित्र्याइन् । यसपछि उनको व्यस्तता बढिहाल्यो । खासगरी गीतलाई कथाको भावअनुसार खिच्न र भव्य देखाउन माहिर मानिन्छिन् उनी । त्यसैले हुनुपर्छ, छोटै समयमा उनले आफूलाई महँगो र व्यस्त कोरियोग्राफरका रूपमा स्थापित गरिन् । फिल्म निर्देशनको जोसचाहिँ कहाँबाट पलायो ? इन्टु मिन्टु लन्डनमाको प्रचारप्रसारमा व्यस्त रेनशाले सुनाइन्, ‘एक दशक कोरियोग्राफी गरेपछि निर्देशन गर्ने आँट आयो । क्यामरा र कलाकारमैत्री भएकाले त्यति गाह्रो भएन ।’


तैपनि रेनशालाई डर थियो, सवा दुई घण्टाको फिल्म खिच्दा पट्यार पो लाग्ने हो कि ? दृश्य खिच्दा गीत खिचेझैं मज्जा नआउला कि ? तर प्रशस्त गृहकार्य र आत्मविश्वासले यो भयलाई चिर्‍यो । उनले ५०–६० जनाको छायाँकन युनिटलाई सम्हाल्दै आफूले चाहेजस्तो काम लिन सफल भइन् । उनको फिल्ममा पुराना कलाकारदेखि नवनायक धीरज मगरसम्मले अभिनय गरेका छन् । कलाकारबाट काम लिने उनको सूत्र थियो, सिनियरलाई सम्मान गर्ने र नयाँलाई सिकाउने । यो सूत्र धेरै हदसम्म सफल भएको र सशक्त अभिनय लिन सकेको अनुभव सुनाउँछिन् उनी । भन्छिन्, ‘खासमा मेरा लागि पनि यो फिल्म सिकाइ प्रक्रिया नै थियो । तैपनि लामो समय गृहकार्य गरेकाले सेटमा सहज भयो ।’ यस फिल्मको अधिकांश दृश्य लन्डनमा खिचिएको छ ।


इन्टु मिन्टु लन्डनमा रोमान्टिक ड्रामा हो । अरू फिल्मभन्दा त्यस्तो फरक केही छैन, लभस्टोरी नै हो । ‘तर माया उही भए पनि फरक शैलीमा देखाएकी छु । पात्रहरूको ‘लभ जर्नी’ रोचक छ,’ ‘उडायो हावाले...’ र ‘लन्डनमा...’ गीतले चर्चा कमाएपछि उत्साहित रहेकी रेनशा भन्छिन्, ‘मलाई दर्शकको दया होइन, माया चाहिएको छ ।’ उनले फिल्मको बजेटचाहिँ खुलाउन चाहिनन् ।


संगीतासँग टेलिभिजनको अनुभव छ । एक दशकयता कान्तिपुर टेलिभिजनमा आबद्ध छिन् । पहिले प्रस्तोता थिइन्, अहिले कार्यक्रम निर्माता । उनले ७० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेकी छन् । कान्तिपुर टेलिभिजनकै लागि कथा प्रेमका नामक १३ वटा सर्ट फिल्म बनाइन् । आधा घण्टामा एउटा कथा देखाउँथिन् । त्यसपछि नै हो, उनी फिचर फिल्म निर्देशनमा आकर्षित भएकी । सुरुमा प्रस्ताव आए पनि निर्देशन गरिनन् । ‘नेपाली फिल्म र मेकिङलाई नजिकबाट बुझ्नै बाँकी थियो । त्यसैले फिल्मसम्बन्धी कार्यक्रम चलाउन थालें । जसले ममा आत्मविश्वास र फिल्मकर्मीसँग सम्पर्क बढायो,’ उनले भनिन् ।


कथा काठमाडौंमा कलाकारको डफ्फा नै छ । प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, संजोग कोइरालादेखि सन्ध्या केसीसम्म । तर बजार होइन, कथाकै मागअनुसार कलाकार रोजेको बताउँछिन् संगीता । फिल्ममा तीन फरक कथा छन् तर चरित्रहरू एकअर्कामा सम्बन्धित छन् । सबै कलाकारसँग पहिलेदेखि चिनजान थियो, चरित्र बुझाइन्, वर्कसप पनि गराइन् । छायाँकन पनि छुट्टाछुट्टै गरियो । यसो गर्दा कलाकारको समय मिलाउन र सोचेजस्तो काम लिन सजिलो भएको उनको अनुभव छ । सुटिङ सकिएपछि पोस्ट प्रोडक्सनमा केही समय लिइन् । कारण उही, सकेसम्म अब्बल र निपुण काम गर्ने । पटकथासमेत आफंै गरेकी संगीता भन्छिन्, ‘हतारमा गर्दा बिग्रिएला भनेर ढिला भए पनि काम राम्रो होस् भन्नेतिर लागें ।’


ट्रेलर र गीतमा समाविष्ट प्रियंका र प्रमोदको अन्तरंग दृश्यले कथा काठमाडौं र संगीताको आलोचना नभएको होइन तर यसलाई स्वाभाविक मान्छिन् उनी । उनको भनाइमा यो पात्रअनुरूप नै छ । ‘कथामा अल्झिएका प्रेम’ नामक पुस्तककी लेखिका संगीता भन्छिन्, ‘हामीले भल्गर होइन, कलात्मक रूपमा खिचेका छौं, त्यो पनि स्क्रिप्टको आवश्यकताअनुसार नै । फिल्म हेरेपछि त्यो प्रस्ट हुन्छ ।’