You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

पछि हटे गौतम

- दुर्गा खनाल

 (काठमाडौं) - सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् ।


उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् । स्थानीय जनमत र पार्टीभित्रको अवस्थालगायतको कारण देखाउँदै उनले तत्काल सांसद बन्ने दिशामा नलाग्ने उल्लेख गरेको स्थानीय नेताले जानकारी दिए । ‘अहिलेको परिस्थिति र प्रतिक्रिया सुन्दा निर्वाचनमा सहभागी हुनेजस्तो वातावरण देखिएन,’ गौतमको भनाइ उद्धृत गर्दै काठमाडौं ७ का ती नेताले भने ।


स्थानीय नेता र काठमाडौंबाट निर्वाचित प्रदेशसभाका सदस्यहरूले बिहीबार गौतमलाई भेटेर छलफल गर्न खोजेका थिए । तर भेट्नका लागि आग्रह गर्नेलाई उनले तत्काल आफू त्यहाँ चुनाव लड्न नआउने जानकारी गराएका थिए । तर गौतमकै विषयमा बिहीबार काठमाडांैका प्रदेशसभा सदस्यहरूको भेला भएको थियो । भेलामा तत्कालीन एमाले र माओवादी केन्द्रबाट निर्वाचित सबै प्रदेशसभा सदस्य उपस्थित थिए । ‘हामीले अहिले स्थानीय वस्तुस्थिति बुझ्दा चुनाव गर्नेजस्तो देखिएको छैन,’ काठमाडौं ७ बाट प्रदेशमा निर्वाचित
प्रकाश श्रेष्ठले भने, ‘यही अवस्थाबारे पार्टी केन्द्रलाई जानकारी गराउने छौं ।’ चुनावको एक वर्ष नहुँदै उपचुनाव गर्नु जनमतको पनि विपक्षमा हुने श्रेष्ठले बताए ।


पूर्वएमाले र माओवादी केन्द्रको बिहीबारै बसेको जिल्ला कमिटीको बैठकले पनि चुनावको अवस्था नरहेको ठहर गरेको थियो । राजीनामा दिने मनस्थिति बनाएका सांसद मानन्धरलाई आफ्नो निर्णय सच्याउन उनीहरूले सुझाव दिएका छन् ।


‘अहिलेको सन्दर्भमा मुलुकमा चुनाव गर्नुपर्ने कुनै आवश्यकता छैन,’ तत्कालीन एमालेका काठमाडौं अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद कृष्ण राईले भने, ‘रामवीर मानन्धरलाई पनि पार्टीमा दिएको राजीनामा फिर्ता गर्न हामीले अनुरोध गरेका छौं ।’ बुधबार काठमाडौं ७ का प्रदेशसभा सदस्य वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र पार्टी अध्यक्ष न्हुच्छेकाजी महर्जनले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई भेटेर गौतमका लागि अवस्था प्रतिकूल रहेको ब्रिफिङ गरेका थिए ।


सांसद मानन्धरले नेता गौतमका लागि भन्दै गत सोमबार पार्टी सचिवालयमा राजीनामा बुझाएका थिए । त्यसपछि उनले मंगलबार पत्रकार सम्मेलन गरेर पार्टीले स्वीकृति दिएपछि सांसद पद छोड्ने बताएका थिए । त्यसपछि नेता गौतम चुनावमा उठ्ने कुराको व्यापक विरोध भएको हो ।


गौतमको चर्चा चलेपछि पार्टीले स्थानीय वस्तुस्थितिको समेत आकलन भयो । स्थानीय नेताहरू नै विपक्षमा उभिएपछि गौतमका लागि अवस्था प्रतिकूल बन्यो ।


पार्टी केन्द्रमा पनि गौतमको विषय विवादित बनेको छ । नेताहरू ईश्वर पोखरेल, भीम रावलमात्र होइन, गौतमसँग निकट मानिएका महासचिव विष्णु पौडेलसमेत यो निर्णयमा सन्तुष्ट छैनन् । पौडेलले बिहीबार सार्वजनिक रूपमै गौतम अब चुनावमा उठ्न नहुने बताएका छन् । गत सोमबारको बैठकमा अकस्मात् मानन्धरको राजीनामापत्र अध्यक्ष पुष्पकमल दाहालको हातबाट आएपछि अन्य नेताहरू पनि आश्चर्यमा परेका थिए । स्रोतका अनुसार गौतमलाई सांसद बनाउने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल विरोधमा जान नसक्ने अवस्था थियो । त्यसैले अर्को बैठकबाट निर्णय गर्ने भनेर त्यो पत्र थाती राखियो ।


सचिवालयको बैठक बुधबारका लागि बोलाइयो । तर मंगलबार गौतम उपचुनावमा उठ्ने भनेर सार्वजनिक समाचार र मानन्धरको पत्रकार सम्मेलनले पार्टीभित्र र बाहिर तरंग ल्यायो । सबै क्षेत्रबाट विरोध हुन थाल्यो । त्यसैले पार्टीले बुधबारका लागि निर्धारित सचिवालयको बैठक पनि कात्तिक ४ सम्मका लागि पर सारेको छ । तत्काल बैठक गर्दा गौतमको विषयमा कुनै निर्णय गर्नुपर्ने भएकाले अध्यक्ष ओलीको चाहनामा बैठक पर सारिएको नेकपाका नेताले जनाए । प्रतिनिधिसभामा प्रवेश गर्नका लागि गौतमले यसअघि झन्डै दर्जनपटक प्रयास गरेका थिए । तर कतै पनि परिस्थिति अनुकूल नभएपछि काठमाडौं ७ का सांसद मानन्धर उनका लागि सहयोगी बन्न खोजे । परिस्थिति उनको विपक्षमा देखापर्‍यो । त्यसैले उनी तत्कालका लागि सांसद बन्ने दिशामा अघि नबढ्ने निष्कर्षमा पुगेका हुन् । गौतम आफंैले भने यो विषयमा प्रतिक्रिया दिन मानेनन् ।

गृह पृष्ठ

प्रदेश कर्मचारी बेखर्ची

कार्यालय व्यवस्थापन र दरबन्दी मिलान नहुँदा दसैंमा समेत तलब रोकियो
- राजेश मिश्र

 (काठमाडौं) - प्रदेश सरकारमातहतका कार्यालय व्यवस्थापनमा ढिलाइ हुँदा दसैंको मुखमा हजारौं कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् । सबैजसो प्रदेशमा साउनयता कर्मचारीले तलब नपाएको गुनासो छ ।


प्रदेशमातहत पठाइएका स्थानीय पूर्वाधार विकास विभागकै ७ सय कर्मचारीले तलब पाएका छैनन् । प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत जिल्ला तहका सयौं कर्मचारीले तीन महिनायताको तलब र दसैं खर्च पाउन बाँकी छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रकाश अधिकारीले कामकाज र बजेटको अख्तियारी नै नआएको बताए । ‘दसैंमा समेत तलब नपाउँदा कर्मचारीलाई समस्या छ,’ उनले भने ।


सबैजसो प्रदेशमा कार्यालय प्रमुखहरूले दैनिक कामको अख्तियारी पाएका छैनन् । यसै कारण उनीहरूले आफू र मातहत कर्मचारीलाई तलब खुवाउन सकेका छैनन् ।
प्रदेशका भौतिक पूर्वाधार, सामाजिक विकास, भूमि व्यवस्था तथा कृषि विकास मन्त्रालयमातहत जिल्ला तहमा बढी कार्यालय हस्तान्तरण भएका छन् । ती सबै निकायको कामकाज र तलबबारे अन्योल देखिएको छ ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले तलब नपाएका कर्मचारीको संख्या ठूलो रहेको बताए । सांगठनिक संरचना व्यवस्थापनमा ढिलाइले यस्तो समस्या निम्तिएको उनले उल्लेख गरे । ‘प्रदेश सरकारहरूले कार्यालय व्यवस्थापन गरेसँगै क्रमश: तलबको समस्या समाधान हुनेछ,’ अधिकारीले भने ।


असार ३२ मा केन्द्र सरकारले प्रदेशमातहत जाने कार्यालयको सांगठनिक संरचना तथा कर्मचारी दरबन्दी स्वीकृत गरेको थियो । तर, प्रदेशले उक्त निर्णयअनुसारका सबै कार्यालय र कर्मचारी अझै पाइसकेको छैन । स्वीकृत संरचनाअनुसार कार्यालय व्यवस्थापन, कर्मचारी दरबन्दी मिलानलगायत काम सम्बन्धित मन्त्रालय र निकायले एक महिनाभित्र गरिसक्नुपथ्र्यो । प्रदेश २ का अर्थमन्त्री विजय यादवले संघ सरकारबाट कर्मचारी र कार्यालय हस्तान्तरणमा ढिलाइले समस्या आएको बताए । ‘हामीले कर्मचारीको तलब खुवाउने निर्णय गरिसकेका छौं,’ उनले भने ‘तर, त्यसको व्यवस्थापनमा कठिनाइ छ । कसलाई अख्तियारी पठाउने भन्नेजस्ता प्राविधिक समस्या देखिएका छन् ।’


प्रदेश ३ का अर्थ सचिव केवल भण्डारीले स्वीकृत संरचनाअनुसार कार्यालय सञ्चालनमा ढिलाइ भएकाले नै तलबको समस्या आएको बताए । ‘बजेट नभएर समस्या भएको होइन, कार्यालयको नाममा खर्च लेखिने हो, कार्यालय प्रमुखलाई अख्तियारी पठाउने हो,’ उनले भने, ‘साबिकका कार्यालय खारेज भएको तर नयाँको टुंगो लागिसकेको छैन । अब क्रमश: व्यवस्थित हुँदै छ ।’ संघले पठाएको सांगठनिक संरचना कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले आनाकानी गर्दै आएको छ । प्रदेशले आफ्नो अनुकूलका कार्यालय संरचना बनाएर केन्द्रलाई पठाएको थियो । केन्द्रले पठाएको संरचना लागू नभएको र प्रदेशले प्रस्ताव गरेको संरचना केन्द्रले स्वीकार नगरेका कारण महिनौंसम्म कार्यालय व्यवस्थापन हुन सकिरहेको छैन । सचिव भण्डारीले प्रदेशको प्रस्ताव केन्द्रबाट स्वीकृत नभएपछि प्रदेशले पनि केन्द्रको संरचना कार्यान्वयन नगर्ने निर्णय गरेको बताए । अब कार्यालय खुलेपछि तलब भत्ता र अन्य खर्चका लागि सम्बन्धित कार्यालयमा अख्तियारी जाने उनले उल्लेख गरे ।


स्थानीय तहमा पनि समस्या
स्थानीय तहमा खटिएका प्राविधिक तथा शिक्षातर्फका कर्मचारीले पनि तलब पाएका छैनन् । स्थानीय तहमा स्थायी कर्मचारी संरचना स्वीकृत हुन बाँकी रहे पनि जिल्लास्थित कार्यालय खारेज भई कर्मचारी खटिइसकेकाले तलब भत्ता वितरणमा समस्या भएको हो । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता अधिकारीले कर्मचारीलाई तलब खुवाउन निरन्तर पहल भइरहेको बताए । बजेट आएपछाडि कर्मचारीको संरचना स्वीकृत हुँदा पनि समस्या परेको उनको भनाइ छ । तलब नपाएको गुनासो बढेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार स्थानीय तहहरूलाई पछि शोधभर्ना पठाउने गरी अन्य कुनै बजेट शीर्षकबाट तलब र चाडबाड खर्च उपलब्ध गराउन पत्राचार गरेको छ ।

गृह पृष्ठ

टपरीमा रैथाने स्वाद

- कलेन्द्र सेजुवाल
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही टपरीमा राखिएको रैथाने परिकार लिँदै । 

 (सुर्खेत)- चियापान कार्यक्रम भनिए पनि त्यहाँ चिया मात्र थिएन । जुम्ली कोदोको सेलरोटी, जाजरकोटी मासको बारा अनि दैलेखी टिमुरको अचार । मुखै रसाउने ती परिकार खानका लागि दुना–टपरीचाहिँ सुर्खेतको स्थानीय उद्योगबाट ल्याइएका थिए ।


प्रदेश प्रमुख कार्यालयले पहिलोपल्ट आयोजना गरेको चियापानमा हर्बल चियादेखि दाल–रोटीसम्म सबै कर्णालीकै रैथाने खाद्यवस्तुका परिकार समावेश थिए । इत्रामस्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेशका पदाधिकारीले मौलिक स्वाद र नयाँ शैलीको मुक्तकण्ठले प्रशंसा गरे । ‘फापरमा केही मिसावट भएजस्तो छ है †’ हुम्लामा जन्मे–हुर्केका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले भने, ‘अरूमा
त कमेन्ट गर्ने ठाउँ देखिनँ ।’ चियापानका लागि जुम्लाबाट हर्बल (जडीबुटी) चिया, सिमी, फापर र कोदो, जाजरकोटबाट मास र दैलेखबाट टिमुर ल्याइएको थियो ।


प्रदेश प्रमुख कार्यालयका कर्मचारी पदम रावलले स्थानीय उत्पादनलाई बढावा दिन यस्तो कार्यक्रम गरिएको जनाए । खाद्यवस्तु सुर्खेत बाहिरबाट ल्याउनुपर्ने भएकाले दुई साता अघिबाटै तयारी गरिएको थियो ।


‘खर्चको हिसाबले पनि निकै किफायती भयो,’ प्रदेश प्रमुख कार्यालयका पदम रावलले भने, ‘करिब १० हजार ५ सय रुपैयाँमा फापर, कोदो, सिमी, मास, टिमुर र हर्बल चिया किनियो । कुक र क्याट्रिनमा १२ हजार खर्च भयो ।’ कार्यक्रममा करिब सयजना सहभागी थिए । कर्णाली प्रदेशकी प्रवक्तासमेत रहेकी कृषिमन्त्री बिमला केसीले रैथाने स्वादको परिकारहरूसहितको चियापानले कर्णालीका स्थानीय अन्नबाली प्रवद्र्धन र बजारीकरणलाई सघाउने बताइन् ।

गृह पृष्ठ

जन्मदिनमा बोलाएर सामूहिक बलात्कार

- कान्तिपुर संवाददाता

मोरङ (कास)– पथरीशनिश्चरे नगरपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।


जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी किशोरीलाई मंगलबार साथीले जन्मदिनको अवसरमा बोलाएको प्रहरी निरीक्षक कमल बजगाईंले बताए ।


‘कक्षा ६ मा अध्ययनरत किशोरी साथीको जन्मदिन मनाउन उनको घर पुगेपछि गाउँबाट टाढा जंगलमा रहेको मन्दिरमा पूजा गर्न गएका थिए,’ उनले भने, ‘मन्दिरमा पूजा गरी जन्मदिन मनाउने क्रममा किशोरीलाई घरेलु मदिरा खुवाएर दुई जनाले रातभर बलात्कार गरेको जाहेरी संरक्षकले दिएका छन् ।’ बलात्कार आरोपमा पीडितकी साथी १५ वर्षीया किशोरी, पथरीशनिश्चरे १ का २२ वर्षीय मनोज राई र वडा ९ का २३ वर्षीय राजकुमार माझीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको उनले बताए । बजगाईंले पीडित किशोरी, पक्राउ परेका राई र माझीको मेडिकल परीक्षण गराएर अनुसन्धान सुरु गरेको जनाए । साथीको जन्मदिन मनाएर किशोरी अबेर राति घर नफर्केपछि संरक्षकले प्रहरीमा उजुरी गरेका थिए । बुधबार बिहान उनलाई विक्षिप्त अवस्थामा घरनजिकै फेला पारेपछि संरक्षकले इलाका प्रहरी पथरीमा किटानी जाहेरी दिएका थिए ।

गृह पृष्ठ

‘सेनाभित्र भ्रष्टाचार छ’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्र भ्रष्टाचार मौलाएको बताएका छन् । सैनिक मुख्यालयमा बिहीबार आयोजित दसैं–तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले आफ्नो एक्लो प्रयासले सेनाको भ्रष्टाचार रोक्न कठिन रहेको भन्दै सबैबाट सहयोगको अपेक्षा गरे । सेनामा भर्ना छनोटका बेला आर्थिक चलखेल हुने गरेको जनगुनासो बढेको भन्दै उनले त्यस्तो विकृति जरैदेखि उखेल्ने बताए ।


सेनाभित्र नातावाद र कृपावाद मौलाएको गुनासो पनि आफूले सुनेको उनले बताए । ‘सेनाभित्र भ्रष्टाचार छ । छैन भनेर म भन्दिनँ, यसलाई नियन्त्रण गर्न नागरिक समाज, सञ्चार जगत् सबैको सहयोग चाहिन्छ,’ उनले भने, ‘एकै दिनमा भ्रष्टाचार निमिट्यान्न गर्न सकिँदैन, यसका लागि लामो प्रयास चाहिन्छ । म तयार छु ।’ सेनाभित्र रहेका विकृति र विसंगति न्यूनीकरण गर्न आफूले कुनै कसर बाँकी नराख्ने भन्दै उनले त्यसका लागि काम सुरु गरिसकेको दाबी गरे । ‘सेनाले कसैको भनसुन र अनुचित दबाबमा परेर काम गर्दैन,’ उनले भने, ‘कहीँ कतै त्यस्तो छ भने पनि पूर्ण रूपमा रोक्छौं ।’


संविधानविरोधी र विखण्डनकारीलाई नियन्त्रण गर्न सेना तयार रहेको पनि उनले बताए । ‘संविधानप्रदत अधिकारलाई सेनाले स्वीकार गर्छ,’ उनले भने, ‘राज्यविरोधी गतिविधि नियन्त्रण गर्न सेना तयार छ, सरकारले दिने जिम्मेवारी बहन गर्छौं ।’ सरकारद्वारा निर्देशित सबै अधिकार पालना गर्ने भन्दै उनले सीमामा हुने अराजक गतिविधि नियन्त्रण गर्न सेना तयार रहेको बताए । ‘राष्ट्रविरोधी र विखण्डनवादी तत्त्वलाई सूक्ष्म तरिकाले नियालिराखेका छौं,’ उनले भने, ‘राष्ट्रको सुरक्षाका लागि सेना जतिबेला पनि तयार छ ।’


निष्क्रिय रहेको सैनिक अदालतलाई सक्रिय बनाउन लागिएको उनले जानकारी दिए । सेनाले विभिन्न क्षेत्रमा लगानी गरेर व्यवसाय गर्न थालेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा सेनापति थापाले व्यवसाय नभई कल्याणकारी काम गरेको दाबी गरे । ‘बाह्य मुलुकका पनि सेनाले कल्याणकारी काम गरेका हुन्छन्,’ उनले भने, ‘कल्याणकारी नीतिअन्तर्गत अस्पताल, सैनिक महाविद्यालयलगायत विभिन्न काम गरेका छौं, यो कल्याणकारी काम हो, व्यवसाय होइन ।’ भूपू गोर्खा सैनिकले नेपालमा समेत विभिन्न कल्याणकारी काम गरेको उदाहरण दिँदै उनले यसबाट सेनाको छवि झन् उज्ज्वल हुने बताए । एकीकृत सुरक्षा प्रणाली लागू गर्ने उल्लेख गर्दै उनले सम्भावित असुरक्षा भए त्यसलाई नियन्त्रण गर्न सेना सक्षम रहेको दाबी गरे । तर, यस्तो सुरक्षा प्रणालीको मोडल चाहिँ उनले प्रस्तुत गरेनन् ।

गृह पृष्ठ

निर्मलाको डीएनए सुरक्षित राख्नू : आयोग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको भेजाइनल स्वाब र त्यसबाट निकालिएको डीएनए नमुना यथास्थितिमा राख्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई बिहीबार निर्देशन दिएको छ ।


आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीसहितका पदाधिकारीले बिहीबार फरेन्सिक विज्ञ डा. हरिहर वस्ती र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डीएनए विज्ञ डा. दिनेश झासँग छलफल गरेपछि प्रहरीलाई त्यस्तो निर्देशन दिएका हुन् । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा निर्मलासँग सम्बन्धित सबुत र नमुना जे जस्तो अवस्थामा छन्, सुरक्षित राख्न प्रहरीलाई निर्देशन दिइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

Page 2
समाचार

जंगल जोगाउने कि विकास गर्ने ?

निजगढ विमानस्थलबारे विज्ञकै मतभेद
- घनश्याम खड्का,अब्दुल्लाह मियाँ

(काठमाडौं)- वन र वन्यजन्तु जोगाउने कि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भन्नेमा विज्ञबीच मत बाझिएपछि त्यसको निक्र्योल गर्न पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको संसदीय उपसमिति निजगढको स्थलगत भ्रमणमा जाने भएको छ ।


संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वन फँडानी गर्दा पर्ने प्रभावका सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको बिहीबार बसेको बैठकले कात्तिक ४ गते स्थलगत अध्ययनमा जाने निर्णय गरेको हो ।
बैठकले वन फँडानी र विमानस्थल निर्माणका सम्बन्धमा राय बुझ्न निम्त्याएका विज्ञमध्ये केहीले कम क्षतिमा विकासको काम अघि बढाउन सुझाव दिएका थिए भने केहीले वन सम्पदा मास्नुको बदला आयोजनास्थल अन्यत्रै सार्नुपर्ने राय दिएका थिए । ‘तपाईंहरूका सुझाव सबै मननीय छन्,’ उपसमितिका संयोजक पूर्वप्रधानमन्त्री नेपालले भने, ‘विमानस्थल कुनै हालतमा रोकिँदैन, वातावरणीय क्षति कम गर्न के गर्न सकिन्छ, आफैं गएर हेर्छाैं ।’


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अर्काे विमानस्थल बनाउनुपर्ने आवश्यकता भएरै २७ वर्षअगाडि यसबारे अध्ययन थालिएको स्मरण गर्दै नेता नेपालले थपे, ‘हामी अझै अध्ययन नै गरिरहेका छौं । यो कस्तो देश हो, जहाँ अध्ययन मात्रै हुन्छ । काम अगाडि बढ्दैन ।’


विभिन्न बहाना झिकेर नेपालमा ठूला विकास परियोजना सफल हुन नदिन एकथरी मानिस सक्रिय रहेको भन्दै नेपालले बैठकको सुरुमै निजगढ विमानस्थल विरोधी तर्क र सुझाव नदिन विज्ञलाई आग्रह गरेका थिए । ‘पूर्वप्रधानमन्त्रीज्यूको आग्रहले मैले ढुक्कले सल्लाह दिन सकिरहेको छैन,’ प्राकृतिक स्रोतविज्ञ सुरज श्रेष्ठले भने, ‘विमानस्थल बनाउनै हुन्न भन्ने होइन तर विकल्प हुँदाहुँदै वन मास्न हुँदैन ।’


श्रेष्ठलगायत केही विज्ञले परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) हचुवाका भरमा तयार भएको बताए । त्यसको जवाफ दिने क्रममा प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको जीईओसीई कन्सल्टेन्सी प्रालिका विज्ञ सुवर्ण जोशीले दुई वर्ष लगाएर तयार पारिएको प्रतिवेदनमा विमानस्थल निर्माणक्रममा हुनसक्ने सबैखाले प्रभावबारे अध्ययन भएको बताए । ‘वातावरणीय प्रभावलाई हामीले अंकमा निकाल्न सकेनांै,’ जोशीले कमजोरी स्विकारे, ‘विस्तृत परियोजना अध्ययन नहँुदा हाम्रो प्रतिवेदनका सुझाव जनरल देखिएको हो ।’


‘के त्यस्तो अध्ययन गर्नुभयो ?’ जोशीलाई संसदीय उपसमितिका सदस्य दिव्यमणि राजभण्डारीले प्रतिप्रश्न गरे, ‘अन्तर्राष्ट्रिय विमानस्थल बनाउने अनुभव भएको को त्यस्तो विज्ञ थियो टोलीमा ? अध्ययनको मास्टर प्लान पनि होला नि, त्यो कहाँ छ ?’


‘यसको जिम्मेवारी हाम्रै नागरिक उड्डयन प्राधिकरणले लिएको थियो,’ राजभण्डारीको प्रश्नले केही झस्किएका जोशीले उत्तर दिए, ‘त्यस्तो अनुभव भएको कुनै विज्ञ नपाइएकाले हामीले यहीँका विज्ञबाट काम चलाउनुपर्‍यो ।’


वातावरण संरक्षण अभियन्ता चन्दा राणाले संरक्षणको कुरा गर्‍यो कि डलर खाएर बोल्ने आरोप लगाउने परिपाटी बसेको भन्दै खुला रूपले गरिएको तथ्यगत टिप्पणीलाई अन्यथा नलिन आग्रह गरिन् । ‘वन जोगाउन जति जरुरी छ, त्यति नै जरुरी हामीलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको छ,’ उनले भनिन्, ‘यसो भन्दैमा हाम्रा प्राकृतिक सम्पदा विनाश गर्नु हुँदैन । २४ लाख ५० हजार रूख काट्ने आवश्यकता किन पर्‍यो ? संसारकै चौथो ठूलो विमानस्थल किन बनाउनुपर्‍यो ?’


ठूलो परिमाणमा रूख काट्ने कुरा नेपालको मात्रै नभएर विश्वकै चासोको विषय भएकाले कम क्षतिमा विमानस्थल बनाउन उनले सुझाइन् । आफूले केही वर्षअघि चितवन निकुञ्जमा देखिएको वातावरणीय समस्या सुल्झाउने प्रयासमा १५ लाख खर्चेर वृत्तचित्र बनाएको प्रसंग उल्लेख गरिन् ।


वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुख कटान प्रक्रिया अघि बढाइदिन गत असार १९ मै पत्र पठाए पनि फिल्डमा विस्तृत अध्ययन नगरी निर्णयमा पुग्न नसकिने बताए । ‘ईआईए प्रतिवेदनले औंल्याएको तथ्यांकका आधारमा मात्र कटानलगायत निर्माण प्रक्रिया अघि बढाउने होइन,’ उनले प्रस्ट पारे, ‘कुन प्रजातिका रूख कति परिमाणमा क्षति हुने हो, त्यसको लगत डिभिजन वन कार्यालयले तयार गर्छ । त्यसपछि मात्रै निर्णयमा पुग्ने हो ।’


मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख यज्ञनाथ दाहालले विमानस्थल निर्माणक्रममा १६४१.१ हेक्टर वन क्षेत्र मात्र प्रभावित हुने बताए । उनका अनुुसार १६४१.१ हेक्टर वन क्षेत्रबाट ५० प्रजातिका रुख १ लाख २८ हजार ६ सय ७० र पोल साइजका ३५ प्रजातिका ३ लाख १९ हजार ४ सय १४ गरी कुल ४ लाख ४८ हजार ८४ वटा रुख काटिनेछन् । शोधभर्नास्वरूप एक बिरुवा काटेबापत २५ वटाका हिसाबले ७ हजार हेक्टर खाली जमिन आवश्यक पर्ने र त्यहाँ एक करोड १२ लाख २ हजार १ सय बिरुवा रोप्नुपर्ने हुन्छ ।


बैठकमा प्राकृतिक स्रोतविज्ञ श्रेष्ठले वन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको निर्माण क्रममा हुने क्षतिको विवरणमा आपत्ति जनाउँदै ‘ईआईए’ प्रतिवेदनलाई मात्र आधिकारिक मान्न सकिने तर्क गरे । विमानस्थल बन्ने स्थानको दुवैतिर पसाहा र लालबकैया खोला भएको र त्यस क्षेत्रमा बाढी आउँदा विमानस्थलमा असर निम्त्याउन सक्ने भएकाले सम्भावित जोखिम न्यूनीकरण नगरी संरचना खडा गर्न नहुने उनले सुझाए । ‘सम्भावित जोखिम कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा अध्ययन भएको देखिन्न,’ उनले भने, ‘सबै पक्षबाट उपयुक्त छ भन्ने ठहर गरेर विमानस्थल बनाउँदा राम्रो हुन्छ ।’


लामो समय तत्कालीन वातावरण मन्त्रालयको ईआईए महाशाखा हाँकेका विज्ञ बटुकृष्ण उप्रेतीले ईआईए हतारमा गरिएकाले त्यसैका आधारमा मात्र निर्माण अघि बढाउनु राष्ट्रिय(अन्तर्राष्ट्रिय ऐन(कानुन र सम्झौताविपरीत हुने टिप्पणी गरे । ‘प्राविधिक समस्या त छँदै छन्, ईआईए प्रतिवेदनमा कसले अपनत्व लिने भन्ने पनि ठूलो समस्या छ,’ उनले भने, ‘ईआईए पास गर्ने र वन क्षेत्र दिने अहिले एउटै मन्त्रालय भएकाले समस्या खडा भएको छ ।’


पर्यटन व्यवसायी भरत बस्नेतले विमानस्थल आवश्यक भए पनि निजगढ विमानस्थललाई अन्तर्राष्ट्रिय हब बनाउने पर्यटन मन्त्रालयको योजना हचुवामा अघि बढाइएको तर्क गरे । अर्थशास्त्री सुरेन्द्र उप्रेतीले विकास र वातावरणबीच संसारभर नै द्वन्द्व चल्दै आएको र नेपालमा पनि यो चल्नु कुनै नौलो नभए पनि परियोजना नै रोक्न भने नमिल्ने सुझाव दिए ।
ठूलो परिमाणमा रूख कटान गरी विमानस्थल बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तयारीविरुद्ध समितिमा कांग्रेस सांसद गगन थापाको नेतृत्वमा प्रदीप गिरी, दिव्यमणि राजभण्डारीलगायतले निवेदन दिएपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दुई साताअघि पूर्वप्रधानमन्त्री माधव नेपालको संयोजकत्वमा निजगढलगायत देशभरका विमानस्थलको अवस्थाबारे नीतिगत अध्ययन गर्न उपसमिति गठन गरेको थियो ।


उपसमितिको गत साताको बैठकले वन मन्त्रालयलाई विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को प्रतिवेदन पठाउन तथा पर्यटन मन्त्रालयलाई निजगढ विमानस्थलसम्बन्धी सम्पूर्ण कागजात, लुम्बिनी तथा पोखरा विमानस्थलको स्ट्याटस रिपोर्ट र कोरियन डेभलपर कम्पनी ल्यान्डमार्कलाई ६० लाख डलर दिनुपर्छ भनी गरिएको सम्झौता उपलब्ध गराउन पत्र लेखेको थियो । वन मन्त्रालयले आफ्नो स्वीकृतिमा भएको ईआईए प्रतिवेदन उपलब्ध गराए पनि पर्यटन मन्त्रालयले भने कुनै प्रतिवेदन नपठाएको सचिवालयले बैठकमा उपसमिति सदस्यलाई जानकारी गराएका थिए । ‘पटक(पटक माग्दा पनि कागजात पाइएको छैन,’ बिहीबार पनि पत्र नपाएपछि राजभण्डारीले भने, ‘तपाईंहरूले किन त्यो डकुमेन्ट लुकाइरहनुभएको छ ? आखिर के छ त्यसमा ?’

समाचार

जनजाति संस्थाले बजेट पाएनन्

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– लोपोन्मुख कुसुन्डा जातिको संगठित संस्था नेपाल कुसुन्डा विकास समिति दुई वर्षदेखि नवीकरण भएको छैन । सरकारबाट सहयोग नपाएकाले सामुदायिक उत्थानका गतिविधि सञ्चालन गर्न नसकिएको अध्यक्ष धनबहादुर कुसुन्डाले बताए । ‘संघीयता आएपछि लोपोन्मुख जनजातिको बेहाल भयो,’ उनले भने, ‘संस्था नवीकरण गर्न र कार्यालय राखेको घर भाडासम्म तिर्न सकिएन ।’ स्थानीय तहको ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरिएको उनको भनाइ छ ।


अर्को लोपोन्मुख जाति राजीको संस्थाले पनि गत वर्षदेखि संस्थागत गतिविधि गर्न सकेको छैन । राजी साल्म समाज केन्द्रीय कार्यालय कैलालीको टीकापुरमा छ । ‘सरकारले बजेट उपलब्ध नगराउँदा समस्यामा छौं,’ अध्यक्ष चित्रबहादुर राजीले भने, ‘सदस्यहरू मिलेर संस्था नवीकरणसम्म गरेका छौं । कार्यालय भाडा तिर्न समस्या छ । हाम्रो आवाज सुन्ने निकायको खोजीमा छौं ।’


सरकारले सूचीकृत ५९ आदिवासी जनजातिका केन्द्रीय संस्थालाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमार्फत वार्षिक १ लाख ५० हजार रुपैयाँ सञ्चालन खर्च उपलब्ध गराउँथ्यो । यसैगरी सीपमूलक र व्यावसायिक दक्षता अभिवृद्धि तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न दिन्थ्यो । संघीयता लागू भएसँगै प्रतिष्ठानमार्फत दिइने बजेट स्थानीय तहबाट उपलब्ध गराउने गरी कटौती गरिएको छ । तर, स्थानीय तहले पनि जनजातिका निम्ति बजेट छुट्याएका छैनन् ।


जनजातिका समस्या सुनुवाइ गर्ने निकाय प्रतिष्ठान हो । सरकारले चालु आवमा कर्मचारी तलब, घर भाडा, बिजुली, पानीका निम्ति ३ करोड ६५ लाख रुपैयाँ मात्र बजेट उपलब्ध गराएपछि प्रतिष्ठान आफैं अस्तित्वको संकटमा छ । प्रतिष्ठानका सदस्यसचिव गोविन्दलाल माझी स्थानीय तहमार्फत पनि बजेट उपलब्ध नगराइएपछि सरकारको ध्यानाकर्षण गराउँदै आएको बताउँछन् । ‘सरकारसँग पटक–पटक बजेट माग गर्दै आएका छौं,’ उनले भने, ‘प्रतिष्ठानले गर्दै आएका कामहरू अधुरा छन् । तिनलाई पूरा गर्न र आदिवासीका संस्था जीवित राख्नका लागि बजेट आवश्यक छ ।’ कार्यक्रमको शीर्षकअनुसार करिब आठ करोड रुपैयाँ थप बजेट माग गरिएको उनले जनाए ।


गत वर्ष प्रतिष्ठानको बजेट १३ करोड ४९ लाख रुपैयाँ थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उक्त बजेटमध्ये ५ करोड ९० लाख रुपैयाँ सोझै स्थानीय तहमा समायोजन गरेको थियो । जनजातिका निम्ति केन्द्रीय तहमा सञ्चालन गरिँदै आएका राष्ट्रिय कार्यक्रममध्ये ११ वटा स्थानीय तहमा गाभिएका छन् । २०३४ सालदेखिको ‘चेपाङ विकास कार्यक्रम’ तथा लोपोन्मुख र सीमान्तकृत समूहमा परेका जातिका निम्ति चलाइँदै आएका कार्यक्रम तथा बजेट कटौतीमा परेका छन् ।

समाचार

अनुमतिबिनै विदेश

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक सहसचिव रामचन्द्र कँडेल वन तथा वातावरण मन्त्रालयको अनुमति नलिई एक दर्जनभन्दा बढी विशेषज्ञ लिएर भारत भ्रमणमा गएका छन् ।


भ्रमण स्वीकृत गराएर मात्र जानुपर्ने व्यवस्था भए पनि उनको भ्रमणबारे मन्त्रालयलाई जानकारी नभएको मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले बताए । ‘देशको प्रतिनिधित्व गर्दै जाने विषय गम्भीर भएकाले भ्रमण मनोनयन स्वीकृत हुनुपर्ने हो,’ प्रवक्ता ढुंगानाले कान्तिपुरलाई भने, ‘त्यसो गरेको देखिएन । यसमा गम्भीर ध्यानाकर्षण भएको छ । मन्त्रालयले एक्सन लिन्छ ।’
स्थानीयस्तरमा हुने जुनसुकै सीमावर्ती बैठकमा भाग लिन भारतीय पक्षका अधिकारीले केन्द्र सरकारसँग अनुमति लिने गरेको प्रसंग राख्दै ढुंगानाले यता भने आफूखुसी विदेश भ्रमण हुनु दु:खद् रहेको बताए ।


उपमहानिर्देशक कँडेल वन्यजन्तु संरक्षणसम्बन्धी सीमावर्ती छलफल (ट्रान्सबाउन्ड्री) बैठकका लागि आइतबार भारतको पटना गएका हुन् । विभागका निमित्त महानिर्देशक गोपालप्रकाश भट्टराईले भ्रमणबारे उपमहानिर्देशक कँडेललाई नै जानकारी भएको बताए । महानिर्देशक मनबहादुर खडका पनि गत सातादेखि विदेश भ्रमणमै छन् । उनी पनि वन्यजन्तुसम्बन्धी कार्यशालामा भाग लिन बेलायत गएका हुन् । दुई साताअघि पनि सूदूरपश्चिम प्रदेशअन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सुधीरकुमार कोइराला र प्रदेश वन निर्देशनालयका प्रमुख सहसचिव नवराज काफ्ले निकुञ्जका प्रतिनिधिलाई लिएर मन्त्रालयलाई थाहै नदिई सीमावर्ती बैठकका लागि भारत गएका थिए ।
प्रवक्ता ढुंगानाका अनुसार स्थानीयस्तरमै हुने संरक्षणलगायत अन्य सीमावर्ती बैठकमा सहभागी हुनका लागि पटक–पटक मन्त्रालयको अनुमति लिनु नपर्ने विगतमा निर्णय भए पनि राष्ट्रिय प्रतिनिधित्व हुने कार्यक्रममा सहभागी हुनुपर्दा भने अनिवार्य मनोनयन स्वीकृत हुनुपर्छ ।

समाचार

विधायन समितिले बनायो क्यालेन्डर

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रिय सभाअन्तर्गतको विधायन समितिले आफ्नो कामलाई प्रभावकारी बनाउन क्यालेन्डर तयार पारेको छ । समितिले सदन नबसे पनि कुन विषयमा कहिले छलफल गर्ने भनी क्यालेन्डर बनाएको हो । अहिलेलाई माघ मसान्तसम्मको क्यालेन्डर तयार पारिएको समिति सभापति परशुराम मेघी गुरुङले बताए । समितिले मंसिरसम्मको कार्ययोजना बनाएको छ । दसैंतिहारको बीचमा ऐन र नेपाल पक्ष राष्ट्र भएका सन्धि/सम्झौताको सूची संकलन गर्ने समितिको योजना छ । दसंै तिहारमा संकलित विवरण कात्तिक मसान्तसम्म वर्गीकरण र प्राथमिकीकरण गरिँदै छ । मंसिर पहिलो साता राष्ट्रियस्तरको कार्यशाला आयोजना गर्न लागिएको सभापति गुरुङले बताए । ‘ऐन मापन प्रक्रिया र प्राथमिकता निर्धारण गर्न कार्यशाला गर्न लागेका हौं,’ उनले भने । मंसिर दोस्रो सातादेखि माघ मसान्तसम्म अन्तरक्रिया गर्ने योजना रहेको गुरुङले सुनाए । संघ, प्रदेश र स्थानीय तहसंग संयुक्त र छुट्टाछुट्टै, जिल्लास्तरमा अन्तरक्रिया गरिने समितिको क्यालेन्डरमा उल्लेख छ । संघीय संसद्मा संयुक्त दुईसहित १६ वटा समिति छन् । प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका ४ वटा विषयगत समिति छन् ।

समाचार

घूस लिएको आरोपमा उपसचिव पक्राउ

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख (उपसचिव) लालबाबु साहलाई बिहीबार घूस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारद्वारा जारी विज्ञप्तिअनुसार साहले भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण गर्न सेवाग्राहीसँग ४० हजार घूस लिएका थिए । आयोगको कार्यालय हेटौंडाबाट गएको टोलीले साहलाई वीरगन्ज महानगरपालिका–१४ स्थित सरकारी निवासबाट बिहीबार नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

समाचार

प्रहरीहरू सम्मानित

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही कर्मचारीको कमीकमजोरी संगठनका सबै अधिकारी र समग्र संगठनको कमजोरी नहुने बताएका छन् । ६२ औं प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै खनालले राष्ट्रले सुम्पेको जिम्मेवारी गम्भीरतापूर्वक वहन गर्दै सबै प्रहरी कर्मचारीले इमानदारितापूर्वक काम गर्न र निष्ठापूर्वक खटिन आग्रह गरे । कार्यक्रममा उत्कृष्ट सेवा प्रदान गर्ने प्रहरी कर्मचारीलाई विभिन्न विधामा सम्मान गरिएको थियो । उत्कृष्ट कार्य सम्पादन गरेकामा प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले पूर्ण शान्ति पुरस्कार पाएका छन् भने साहसिक तथा जोखिमपूर्ण कार्य गरेबापत पर्साको प्रहरी चौकी बिर्तामा कार्यरत गनकुमार खण्डलुकले योगेन्द्र स्मृति साहसिक पुरस्कार पाएका छन् । त्यस्तै सराहनीय काम गरेर प्रहरी सहायक निरीक्षक प्रकाश खनाल, प्रहरी जवानहरू कल्पना सुवेदी, शर्मिला गुरुङ, उत्कृष्ट प्राविधिकतर्फ प्रहरी निरीक्षक दीपकराज अवस्थी, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी सहायक निरीक्षक कमल बस्याल, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक विमल थापा सम्मानित भएका छन् । प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय र तिनका प्रमुखलाई पनि सम्मान गरेको छ । झापा, म्याग्दी र कैलालीस्थित जिल्ला प्रहरी कार्यालयहरू क्रमश: पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

Page 3
समाचार

नोबेल विजेताको नेपाल सम्झना: ‘हिमाल हेर्न मन छ’

- बालकृष्ण बस्नेत

 (काठमाडौं) - यो वर्षको नोबेल शान्ति पुरस्कार विजेतामध्ये डा. डेनिस मक्वेगे २६ वर्षअघि नेपाली बिरामीको उपचारमा सामेल थिए । त्यतिबेला जुन अस्पतालमा उनले बिरामीको उपचार गरे, उनलाई अहिले त्यो अस्पताल हेर्नु छ । त्यतिबेला थोरै बसाइ भए पनि त्यो ठाउँ र स्थानीयको आत्मीयता उनले अझै भुल्न सकेका छैनन् ।


त्यो ठाउँ अर्थात् पाल्पा तानसेनस्थित मिसन अस्पताल । त्यसताका पश्चिम क्षेत्रमै चर्चित थियो । विदेशी डाक्टरहरूसमेत सेवामा खटिने भएकाले पनि वरपरका जिल्लाबाट बिरामी त्यहाँ धाउँथे । त्यही क्रममा पुगेका थिए मक्वेगे ।


‘अहिले त्यो अस्पताल कस्तो भयो होला,’ गत साता नोबेल शान्ति पुरस्कार पाउने घोषणापछि विश्वभर चर्चामा छाएका मक्वेगेले कान्तिपुरसँगको सम्पर्कमा भने, ‘मलाई त्यो अस्पताल हेर्न मन लागेको छ ।’


युद्ध क्षेत्रमा बलात्कारविरुद्ध अभियान चलाउने २ अभियन्तालाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा भएको थियो । तीमध्ये एक हुन् अफ्रिकी मुलुक कंगोका डा. मक्वेगे । विश्वकै सबैभन्दा प्रतिष्ठित यो पुरस्कार उनी र इराकी अभियन्ता नादिया मुरादलाई संयुक्त रूपमा दिने घोषणा भएको हो ।


डा. मक्वेगे कंगोका गाइनोकोलोजिस्ट हुन् । उनी र उनको टोलीले १० हजारभन्दा बढी बलात्कार पीडितको उपचार गरिसकेका छन् । मुराद भने इराकको याजिदी सम्प्रदायकी महिला हुन् । उनलाई स्लामिक स्टेटका सेनाहरूले अत्याचार र बलात्कार गरेका थिए ।


डा. मक्वेगे भने अहिले पनि कंगोको बुकाभुस्थित अस्पतालमा बलात्कार र यौन हिंसापीडितको उपचारको अगुवाइ गरिरहेका छन् । कंगोमा शान्ति स्थापनाका लागि राष्ट्रसंघीय मिसन २० वर्षदेखि कार्यरत छ । त्यहाँ डा. मक्वेगे पनि कार्यरत छन् । उनलाई नेपालबाट शान्ति स्थापनार्थ खटिएका सेनाले आवश्यक सुरक्षा पनि दिएका छन् ।


बुकाभुको बसाइसँगै उनी तानसेनबाट देखिने हरियाली पहाड र हिमशृंखलालाई सम्झिरहेका छन् । ‘वरिपरि पहाड र हिमाल भएको नेपाल असाध्यै राम्रो देश हो,’ मौका मिल्दा आफू पुन: नेपाल आउने बताउँदै उनले भने, ‘तानसेनबाटै अन्नपूर्ण र अन्य हिमालको दृश्य हेर्न मन लागेको छ ।’


मक्वेगेलाई नेपाली आतिथ्यले पनि लोभ्याएको छ । उनी अझै नेपाली साथीलाई नेपालमै आएर भेट्न चाहन्छन् । नेपाली खाना पनि उस्तै मन पराउँछन् । सम्झन्छन्– ‘केही पिरो भए पनि नेपाली खाना साह्रै मीठो ।’


नोबेल पुरस्कार दिइने निर्णयबाट हर्षित भएका मक्वेगेले यो निर्णय पीडितको पक्षमा रहेको प्रतिक्रिया दिए । ‘पुरस्कारको घोषणापछि मलाई विश्वले अन्तिममा पीडितका कुरा सुनेको जस्तो लागेको छ,’ उनले भने ।


कंगोमा निरन्तरको अस्थिरता रोक्न त्यहाँको सुरक्षा व्यवस्थाले मात्र अपुग भएकाले नेपाली सेनाको समन्वयमा प्रभावकारी काम भएको उनी बताउँछन् । ‘कंगोमा शान्ति पुन:स्थापना गर्न राष्ट्रसंघको सहायता अझै छ, त्यसमा नेपाली सेनाको उपस्थिति प्रभावशाली छ,’ डा. मक्वेगेको मूल्यांकन छ । पुरस्कारको निर्णयपछि डा. मक्वेगेको थप सुरक्षाका लागि उनी कार्यरत अस्पतालमा समेत सुरक्षा दिइरहेको प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।


(कंगोस्थित राष्ट्रसंघीय मिसनमा खटिएका नेपाली सेनाको सहयोगमा)

समाचार

विमानस्थल सफ्टवेयरमा बारम्बार समस्या

सफ्टवेयरमा समस्या आउँदा यात्रु रेकर्डबिनै विदेश उड्छन्
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर बारम्बार बिग्रिएपछि अध्यागमन अधिकारीहरूले रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति दिएका छन् । गत सोमबार दिउँसो १ बजे करिब एक घण्टासम्म नेपालबाट विदेश जाने यात्रुको रेकर्ड राख्ने इमी सफ्टवेयरले काम गरेको थिएन ।


यात्रुको लामो लाइनमा रहेका बेला अचानक पीआरएम अर्थात् पासपोर्ट रिडेबल मेसिनमार्फत इमी सफ्टवेयरमा डाटा इन्ट्री गर्ने काम बन्द भएको थियो । यात्रुको चाप र त्यही बेला सफ्टवेयरमा खराबी आएपछि अध्यागमन अधिकारीले सामान्य जाँच र पासपोर्ट पढेर प्रस्थान अनुमति दिएका थिए । एक अध्यागमन अधिकृतका अनुसार सफ्टवेयर बारम्बार ह्याङ हुने समस्या नौलो होइन । उनका अनुसार हरेक साता कुनै न कुनै समय सफ्टवेयरले काम गर्न छाड्छ । प्राविधिक समस्याका कारण यस्तो बेला नेपालबाट विदेश जाने यात्रुको जानकारी राख्न नसकिने ती अधिकृतले बताए ।


‘पाँच/छवटा पासपोर्ट स्क्यान गर्नेबित्तिकै सफ्टवेयर ह्याङ भइहाल्छ,’ उनले भने । सुरक्षाका हिसाबले संवेदनशील अध्यागमनमा देश छाड्नेको विवरण अद्यावधिक नहुँदा सुरक्षा चुनौती बढ्न सक्छ । विमानस्थल सुरक्षामा खटिएका एक उच्च सुरक्षा अधिकारीका अनुसार सफ्टवेयरमा समस्या आएका बेला देशभित्रै कुनै अपराध गरेका वा शंकास्पद सूचीमा रहेकाहरू पनि खुसुक्क देश छाड्ने खतरा हुन्छ ।


विमानस्थल अध्यागमनमा यात्रुको रेकर्ड राख्ने काममा समस्या उत्पन्न भए पनि सन् २०१४ अगस्टदेखि अध्यागमन विभागले इमी अर्थात् इमिग्रेसन सफ्टवेयर प्रयोगमा ल्याइरहेको छ । तर प्रयोगमा आएको केही महिनादेखि नै सफ्टवेयरमा बारम्बार समस्या आउने गरेको विमानस्थल अध्यागमनका अधिकृतहरू बताउँछन् ।


विमानस्थल अध्यागमनका प्रमुख अधिकृत राजेश पौडेलसँग पनि सफ्टवेयरमा बारम्बार समस्या हुने गरेको अनुभव छ । पासपोर्टमा उल्लेखित डाटा खिच्ने, प्रस्थान र आगमनको समयसहितको रेकर्ड राख्ने सफ्टवेयरमै समस्या आएपछि अध्यागमनका डेस्क अधिकृतहरू समस्यामा पर्ने गरेका छन् । प्रमुख अधिकृत पौडेलले भने, ‘सफ्टवेयर बिग्रेका बेला के गर्ने ? सेवा रोकौं क्षमतामा प्रश्न उठ्ने, बिना प्रविधिको सेवा दिँदा कर्मचारी आशंकाको घेरामा पर्ने सम्भावना हुने ।’ अधिकृत पौडेलले सफ्टवेयरको समस्याबारे अध्यागमन विभागमा बारम्बार कुरा राखे पनि समस्या समाधान नभएको सुनाए । उनले भने, ‘सफ्टवेयर बिग्रेका बेला अनधिकृत काम हुने खतरा सधैं रहने भयो तर के गर्ने उपाय छैन ।’

समाचार

पारिश्रमिकमा महासंघको आपत्ति

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल पत्रकार महासंघले सञ्चारकर्मीको न्यूनतम तलब पारिश्रमिक निर्धारण समितिको सिफारिसभन्दा कम वृद्धि गरिएकामा आपत्ति जनाएको छ । समितिले श्रमजीवी पत्रकारको पारिश्रमिक ५० प्रतिशत बढाउन सिफारिस गरे पनि सरकारले २५ प्रतिशत मात्र बढाएको थियो ।


‘महासंघ, श्रमजीवी पत्रकार, मिडिया सञ्चालक र सरकारी पक्षसमेत रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २९ हजार ५ सय बनाउन गरेको सिफारिस लत्याउँदै २४ हजार ५ सय रुपैयाँ मात्र बनाउने सरकारको निर्णयप्रति महासंघ दु:ख प्रकट गर्छ,’ महासचिव रमेश विष्टद्वारा बिहीबार जारी विज्ञप्तिमा छ ।


महासंघले समितिको सिफारिसअनुसार न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सरकारसित माग गरेको छ । केही सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई समयमा पारिश्रमिक उपलब्ध नगराएकामा समेत महासंघले आपत्ति प्रकट गरेको छ । ‘विजयादशमीअगावै श्रमजीवी पत्रकारको बाँकी पारिश्रमिक उपलब्ध गराउन र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न/गराउन महासंघ सञ्चारमाध्यम र सरकारलाई आग्रह गर्छ, श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमविरुद्ध महासंघ कठोर ढंगबाट प्रस्तुत हुन बाध्य हुने स्पष्ट पार्न चाहन्छौं’, विज्ञप्तिमा छ ।

 

Page 4
वाग्मती प्रदेश

सञ्चार विधेयकमा संशोधन प्रस्ताव

लोकतन्त्रलाई संकुचित गर्न सरकार सञ्चार क्षेत्रमाथि आक्रमणमा उत्रिएको आरोप
- नगेन्द्र अधिकारी

 (हेटांैडा) - प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार व्यवस्थापनसम्बन्धी विधेयक संविधान एवं प्रेस तथा अभिव्यक्तिविरोधी भएको भन्दै संशोधन दर्ता गरिएको छ । सत्ता पक्षका सांसद प्रेमबहादुर पुलामी, प्रतिपक्षी कांग्रेसका सांसद छिरिङ दोर्जे लामा, प्रभात तामाङ, नरोत्तम वैद्य, पुकार महर्जन र विवेकशील साझा पार्टीका रमेश पौड्यालले विधेयकका विभिन्न दफा, उपदफामा संशोधन दर्ता गराएका हुन् ।


कांग्रेस र विवेकशील साझा पार्टीका सांसदले दर्ता गराएको संशोधनमा दफा २६ को प्रतिबन्धात्मक वाक्यांश सबै हटाउन प्रस्ताव गरिएको छ । उक्त प्रतिबन्धात्मक वाक्यांशमा ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सु–सम्बन्ध वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पार्ने, राज्यद्रोह, गाली, बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टचार वा व्यक्तिको नैतिकताको प्रतिकूल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछूत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य गरेको प्रमाणित भएमा त्यस्ता पत्रपत्रिकालाई मनासिव प्रतिबन्ध लगाउन बाधा परेको मानिने छैन’ भन्ने उल्लेख छ । दफा ४ पूरा हटाउन प्रस्ताव गरिएको छ । दफा ४ मा कसैले पनि ऐनबमोजिम इजाजतपत्र नलिई कुनै पनि कार्यक्रम प्रसारण गर्न नहुने उल्लेख छ ।


दफा ११, १२ पूरै हटाउन प्रस्ताव गरिएको छ । दफा ११ मा प्रसारणमा रोक लगाउन सकिने व्यवस्था उल्लेख छ । ‘संविधानको व्यवस्था र राष्ट्र हितलाई ध्यानमा राखी प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी एक पटकमा ६ महिनामा नबढाई कुनै खास विषय, घटना वा क्षेत्रसँग सम्बन्धित कुनै कार्यक्रम प्रसारण संस्थाबाट प्रसारण गर्न नपाउने गरी रोक लगाउन सक्नेछ,’ उक्त दफामा भनिएको छ ।


दफा १२ मा ‘कुनै प्रसारण संस्थाले यस ऐन वा यस ऐनअन्तर्गत बनेको नियमविपरीत कुनै कार्यक्रम प्रसारण गरेमा मन्त्रालयले त्यस्तो प्रसारण संस्थालाई पहिलो पटक सचेत गराउन सक्नेछ,’ भन्ने उल्लेख छ ।


उपदफा २ मा ‘उपदफा (१) बमोजिम सचेत गराउँदासमेत यस ऐन वा यस ऐनअन्तर्गत बनेको नियमविपरीत कुनै कार्यक्रम प्रसारण गरेमा मन्त्रालय त्यस्तो प्रसारण संस्थाले प्राप्त गरेको इजाजतपत्र रद्द गर्न सक्नेछ’ भन्ने लेखिएको छ । दफा १६ को उपदफा १ को (क) मा राजनीतिक दलहरूलाई प्रतिकूल असर पर्ने विषयका विज्ञापन प्रसारण गराउन नहुने अस्पष्ट व्यवस्था भएकाले संशोधनमा हटाउन प्रस्ताव गरिएको छ । दफा १६ को उपदफा १ को घ, दफा १७ को उपदफा ङ, च, र छ हटाउन संशोधन दर्ता भएको हो । दफा २०, ४४, ५०, ५१ र ५२ पूरै हटाउन प्रस्ताव गरिएको छ । दफा ५० मा ऐन बमोजिमको कसुर गरेको मुद्दा सरकारवादी हुने व्यवस्था उल्लेख छ ।


संशोधन दर्ता गराएका कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले संविधानको मर्मलाई समेत बंग्याएर विधेयक आएकाले संशोधन दर्ता गरेको बताए । ‘संविधानको मर्मलाई नै बंग्याएर प्रेसलाई नियन्त्रण गर्न खोजिएकाले संशोधन दर्ता गराएका हौं,’ लामाले भने, ‘लोकतान्त्रिक आचरणभन्दा पनि कम्युनिस्ट विचारधाराबाट प्रेरित भएर विधेयक आएको छ ।’
विवेकशील साझा पार्टी संसदीय दलका नेता रमेश पौड्यालले लोकतन्त्रलाई संकुचित गर्न सरकार सञ्चार क्षेत्रमाथि आक्रमणमा उत्रिएको आरोप लगाए ।

वाग्मती प्रदेश

गाउँमा नमुना विद्यालय

-कक्षापिच्छे भवन -बालमैत्री कोठा -तातो र चिसो पिउने पानी -कक्षाकोठामा रुम हिटर -फ्रि–वाईफाई -छात्रामैत्री शौचालय -टाढाका शिक्षकलाई क्वार्टर
- प्रताप विष्ट
मकवानपुरको भीमफेदी गाउँपालिका ९ बसीफाँटस्थित लेकाली बसीफाँट माध्यमिक विद्यालयका भवनहरू ।तस्बिर : प्रताप/कान्तिपुर

 (मकवानपुर)- मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने ग्रामीण भेगको एक सामुदायिक विद्यालयमा एउटा कक्षाका लागि एउटा भवन छ । ४० विद्यार्थी क्षमताको एउटा कक्षाका लागि एउटा भवन निर्माण गरिएको हो ।


भीमफेदी गाउँपालिका ९ बसीफाँटस्थित लेकाली बसीफाँट माध्यमिक विद्यालयका शिशु कक्षादेखि १० कक्षासम्मका विद्यार्थी अध्ययन गर्नका लागि छुट्टाछुट्टै भवन छन् । ‘एउटा कक्षाकोठाका लागि एउटा भवन रहेको छ’ प्रधानाध्यापक एलएल मण्डलले भने, ‘सबै कक्षाकोठाहरू बालमैत्री छन् ।’ सधैं चिसो भइरहने उक्त स्थानमा स्कुलको प्रत्येक कक्षाकोठामा रुम हिटर राखिएको छ । तातो र चिसो पिउने पानीको व्यवस्था छ । विद्यालय परिसरमा फ्रि वाईफाई छ । प्रत्येक कक्षाकोठामा अडियो भिजिवेलबाट पठनपाठन गरिन्छ । छात्रामैत्री शौचालय छ ।


२ हजार ३ सय ८० मिटर उचाइमा रहेको उक्त विद्यालयमा ईसीडीदेखि ४ कक्षासम्म अंग्रेजीमाध्यमबाट पठनपाठन गरिन्छ । २ सय ३५ जना छात्रा र २ सय २० जना छात्र गरी ४ सय ५५ जना उक्त विद्यालयमा अध्ययनरत छन् । छात्रभन्दा १५ जना बढी छात्रा छन् ।


तामाङ समुदायका बालबालिका मात्र अध्ययन गर्ने उक्त विद्यालयमा २ घण्टा पैदल हिँडेर विद्यार्थीहरू पढ्न आउने गर्छन् । विद्यालयमा आउजाउ गर्दा दैनिक चार घण्टा उनीहरू हिँड्नुपर्छ । उक्त विद्यालयमा थाहा नपाको ४, ५ र भीमफेदी गाँउपालिकाको ९ नम्बर वडाका बालबालिकाहरू पढ्न आउने गर्छन् । वासुकी, बतासे, नलिवन, ठूलो माखु, झिरघारी, अघोरलगायत २७ वटा बस्तीका तामाङ बालबालिकाहरू यहाँ पढ्न आउने गर्छन् ।


ठूलोमाखु, वासुकी र अघोरका बालबालिकाहरू दैनिक चार घण्टा हिँड्ने गर्छन् । त्रिभुवन राजपथको छेउमै रहेको उक्त विद्यालयका विद्यार्थीहरू राजमार्ग हुँदै हिँडेर आउजाउ गर्छन् । सवारी साधनका चालकहरू दयालु प्रकृतिका फेला परे भने उनीहरूलाई सवारी साधनमा हालेर स्कुलसम्म ल्याइदिने गर्छन् । ‘छात्रावासको अभावले गर्दा टाढा–टाढाबाट पढ्न आउने विद्यार्थीलाई समस्या भएको छ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद लामाले भने, ‘छात्रावासको अति आवश्यकता छ तर आर्थिक अभावले बनाउन सकिएको छैन ।’
३३ रोपनी जग्गामा फैलिएको उक्त विद्यालयको बीच भागमा खेलकुद मैदान छ । पुस्तकालय पनि छ । टाढा/टाढाबाट आएका शिक्षकहरू विद्यालयमै बस्नका लागि क्वार्टरको पनि सुविधा छ । विद्यालय परिसरमा कक्षा भवन, पुस्तकालय र प्रशासनिक भवन गरी १८ वटा भवन छन् । जाइटी फाउन्डेसनले २०४९ सालमा बसीफाँटमा उक्त विद्यालय स्थापना गरेको हो । २०६५ सालमा उक्त विद्यालय समुदायलाई हस्तान्तरण गरेको थियो ।


उक्त स्कुलमा १५ जना शिक्षक र ३ जना कार्यालय सहयोगी छन । विद्यालयले निजी स्रोतबाट ८ वटा शिक्षक र २ जना कार्यालय सहयोगीलाई तलब खुवाउने गरेको छ । ‘घर/घरमा चन्दा संकलन गरेर निजी स्रोतमा राखेका शिक्षक र कार्यालय सहयोगीलाई तलब खुवाउँदै आएका छांै,’ समितिका अध्यक्ष लामाले भने, चन्दा संकलन नगरे तलबै खुवाउन सकिँदैन ।’ गत आवमा ३९ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । तीमध्ये एक विद्यार्थी ए ग्रेडमा उत्तीर्ण भएका थिए । अरू बी र सी ग्रेडमा उत्तीर्ण भएका थिए । आगामी वर्षदेखि उक्त विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सुरु गर्ने भएको छ । पठनपाठन, भौतिक पूर्वाधार र बालमैत्री आदिका कारणले यो मुलुककै नमुनाको विद्यालय भएको प्रअ मण्डलले दाबी गरेका छन् । गाउँपालिकाको सहयोगमा विद्यालयमा बाली विज्ञानको पढाइ सुरु गर्न लागेको हो । आफ्नो गाउँपालिकाभित्र रहेका सबै माध्यमिक विद्यालयहरूमा प्राविधिक विषय पढाइ सञ्चालन गर्ने अभियानअन्तर्गत उक्त विद्यालयमा पनि आगामी शैक्षिक सत्रदेखि बाली विज्ञान विषयको पढाइ सुरु गर्ने गापा अध्यक्ष हिदम लामाले बताए ।

वाग्मती प्रदेश

धार्मिक सम्पदामा विदेशी पर्यटक

- अनिश तिवारी
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुनस्थित सुनकोसी किनारमा रहेको कफेश्वर मन्दिर घुम्न आएका पर्यटक ।तस्बिर : अनिश तिवारी/कान्तिपुर

 (सिन्धुपाल्चोक) - त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुनस्थित सुनकोसी क्षेत्रस्थित कफेश्वर महादेव मन्दिर घुम्न आएकी अमेरिकी क्यास्ट्रिना केट खुसी भइन् । ‘मेरो हिन्दु देवता महादेवप्रति अलग्गै लगाव छ, त्यसैले यहाँ घुम्न भनेर वर्षैपिच्छै आउने गरेकी छु,’ उनले भनिन् । राजधानीको पशुपतिनाथ दर्शन गरेर आएकी उनले त्रिपुरासुन्दरी गापाअन्तर्गतको लाटुको लट्टेश्वर महादेव यात्रा सकेर कैलाश मानसरोवर जाने योजना बनाएको सुनाइन् ।


अफ्रिकाबाट आएकी फिदिम लिकीले मन्दिर घुम्न भनेर धेरै पटक सिन्धुपाल्चोक आइसकेको बताइन् । ‘६ जनाको समूहमा हामी आएका छौं, मन्दिर घुमेर आनन्द लिनकै लागि हाम्रो यात्रा हो,’ उनले भनिन् । उनले लिसंखुपाखर गाउँपालिकाको ठूलो धादिङस्थित गुफा र हरिसिद्धि देवीको मन्दिर अवलोकन गरेको जनाइन् ।


हेलम्बु गाउँपालिकाको महादेव पाइला हेरेर फर्किएकी अमेरिकी केटले यहाँ स्वर्गीय आनन्द लिएको अनुभव सुनाइन् । ‘किउलको हरियो खेतमा धान र फाँटको रमाइलो लियौं, यसपछि मेलम्चीघ्याङ, तार्केघ्याङ हुँदै आमायांग्री महादेव पाइला दर्शन गर्‍यौं,’ उनले भनिन् । १५ जनाको समूहमा आएकी केलिनाले भूकम्पअघि २५ जना साथीहरूसँगै हेलम्बु क्षेत्र घुम्न आएको सुनाइन् ।


‘ह्योल्मो धर्मको पहिचान गुम्बा, गुफा र मन्दिर भएकाले आएका हौं,’ उनले भनिन् । अमेरिका, अफ्रिकाजस्ता विभिन्न मुलुकबाट धार्मिकस्थल घुमेर आनन्द लिन भनेर आउने विदेशी पर्यटकको जमात बाक्लिँदै गएको छ । भूकम्प गएको तीन वर्षपछि पूर्वाधार, धार्मिकस्थलको पुनर्निर्माणसँगै जिल्लाको धार्मिक पर्यटन विस्तार हुने अवस्थामा पुगेको छ । क्षतिग्रस्त प्राचीन धार्मिक धरोहर विस्तारै उठ्न थालेपछि प्रसिद्ध सम्पदामा घुम्न आउने पर्यटक बढ्दै छन् ।


भूकम्पअघि दैनिक झन्डै हजार पर्यटक धार्मिक धरोहरको आनन्द लिन भनेर जिल्लामा आउने गरेका थिए । वार्षिक ७५ हजार पर्यटक पदमार्गको आनन्द लिँदै हेलम्बु, तातोपानीदेखि विभिन्न चर्चित धार्मिकस्थल अवलोकन गर्दथ्ये । अहिले पूर्वाधार र धार्मिक मन्दिरको निर्माण भइरहँदा जिल्लामा दैनिक सयको हाराहारीमा पर्यटक आउने गरेका छन् ।

वाग्मती प्रदेश

प्रविधिमैत्री बनाउन जरुरी

छोटकरी
- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी संगठनलाई अझै बढी स्रोत साधनयुक्त र प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन् । ६३ औं प्रहरी दिवसमा प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रममा पौडेलले नेपाल प्रहरीलाई पर्याप्त स्रोत साधनयुक्त बनाएर अझै दक्ष बनाउनुपर्ने बताएका हुन् । देशलाई आर्थिक, सामाजिक रूपमा समृद्ध बनाउन प्रहरीले खेलेको भूमिकाको प्रसंशा गर्दै उनले समाजमा विद्यमान रहेको विभिन्न विकृति र विसंगतिलाई नियन्त्रण गर्ने, सडकसँग सम्बन्धित विभिन्न सुरक्षाको व्यवस्था गर्ने तथा नागरिकको मानव अधिकारको सम्बद्र्धन गरेको बताए ।

वाग्मती प्रदेश

दुर्घटनामा १० घाइते

छोटकरी
- कान्तिपुर संवाददाता

धादिङ (कास)– दुई भिन्नाभिन्नै बस दुर्घटनामा बुधबार १० जना घाइते भएका छन् । पृथ्वीराजमार्गको धुनिबेंसी नगरपापालिका ७ नौबिसेमा वीरगन्जबाट काठमाडांै तर्फ आउँदै गरेको लु१ख ९८७९ नं. बस र विपरीत दिशातर्फ जाँदै गरेको ना३ख ३१०६ नं. को बस एक–आपसमा ठक्कर खाँदा ६ जना घाइते भएको खानीखोलास्थित इलाका प्रहरीले जनाएको छ । घाइते हुनेमा स्थानीय थाक्रे ४ निवासी ३९ वर्षीय सन्तबहादुर तामाङ, ना३ख ३१०६ नं. बस चालक ३६ वर्षीय जयबहादुर तामाङ, ५० वर्षीय विनोद लामा २४ वर्षीय भीमलाल तामाङ छन् । एकजना सनाखत हुन नसकेका करिब २५ वर्षीय युवकको टाउकोमा चोटका कारण बोल्न नसकेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लु१ख ९८७९ नं. का बस चालक नवलपरासी विनयत्रिवेणी गापा ६ बस्ने ३४ वर्षीय मदनबहादुर थापा पनि घाइते भएका छन् ।

वाग्मती प्रदेश

कैद मिनाहा भएन

छोटकरी
- कान्तिपुर संवाददाता

काभ्रे (कास)– सरकारले प्रत्येक वर्ष दसैंमा ‘असल चालचलन’ भएका कैदीबन्दीलाई कैद मिनाहा गर्ने भए पनि यो पटक त्यसो नहुँदा अवधि पुगेका कैदीको दसंै पनि करागारमै हुने भएको छ । कारागार व्यवस्था विभागले त्यससम्बन्धी लगत नमागेकोले अवधि पुगेका कैदी पनि घर जान नपाउने भएका हुन् । कारागार नियमावली २०२० को दसौं संशोधनमा असल चालचलन भएका कैदीको कैद सजाय छोट्याउने प्रावधान छ । गृह मन्त्रालयमार्फत कारागार व्यवस्था विभागले लगत मागेर ५० वा ६० प्रतिशत कैद भुक्तान गरेर असल चालचलन भएका कैदीलाई संविधान दिवस, गणतन्त्र दिवस र विजया दशमीको अवधि राष्ट्रपतिमार्फत कैद मिनाहा गर्दै आएको थियो । ‘यस पटक अझै लगत मागिएको छैन,’ जिल्ला कारागारका सूचना अधिकारी रुद्रप्रसाद हुमागार्इंले भने, ‘सरकारले निर्णय गर्ने हो, यसबारे कुनै निर्णय आएको छैन ।’

 

Page 5
उपत्यका

स्कुल बनाउन सत्तल मासिंदै

- दामोदर न्यौपाने
नीलबाराही माविले भत्काउने योजना बनाएको नीलबाराही सत्तल । तस्बिर : दामोदर 

 (काठमाडौं) - राजधानीको एक स्कुलले धार्मिक महत्त्वको सत्तल मासेर विद्यालयको थप भवन बनाउने योजना बनाएको छ । कालिमाटीस्थित निलबाराही मन्दिर क्षेत्रको नाममा रहेको एउटा सत्तल मासेर नयाँ भवन बनाउने योजना अघि बढेको हो । त्यहाँ तीन सत्तल छन् । मन्दिरका गुठियारको विरोधका कारण विद्यालयको योजना सफल भने भएको छैन । ‘स्कुलमा विद्यार्थी बढ्दै गए,’ विद्यालयकी प्रधानाध्यापक डा. जानुका नेपालले भनिन्, ‘कतै ठाउँ पाइएन । म पनि सम्पदाप्रेमी हुँ । मास्न मन त छैन । केही नलागेपछि के गर्नु ? सम्पदाभन्दा त स्कुलै महत्त्वपूर्ण हो नि । कतै ठाउँ पाइयो भने अन्तै बनाउँछौं । यसका लागि विद्यालय व्यवस्थापन समितिसँग कुरा राख्छु ।’


२०१० सालमा वकिल मुक्तिनाथ झाले खोलेका हुन् यो विद्यालय । टोलमा स्कुलको आवश्यकता महसुस गरेर गुठियारले यहाँका तीनवटै सत्तलमा पढाउन अनुमति दिएका थिए । ‘सत्तलभन्दा स्कुलै महत्त्वपूर्ण ठानेर पढाउने अनुमति दिए हाम्रा पुर्खाले,’ स्थानीयबासी अनिल तुलाधर भन्छन्, ‘पहिला सत्तलमा पढाइयो । सत्तल उनीहरूकै भयो । पछि स्कुलमा मावि संचालन भयो । हामीले हाम्रो सांस्कृतिक गतिविधि हुने चौर दियौं । चौरमा भवन बनाउँदा केही भनेनौं । अहिले त सत्तलै भत्काइदिने कुरा पो गर्छन् । यो हाम्रो संस्कृतिमाथि ठाडो अतिक्रमण हो ।’ नीलबाराही मन्दिरको उत्तर, दक्षिण र पश्चिमतिर सत्तल छन् । त्यसमध्ये दक्षिणको एक तला मन्दिरका गुठियारलाई दिइएको छ । अरू सत्तल अहिले पनि विद्यालयले प्रयोग गरिराखेको छ । उत्तरको सत्तलको माथिल्लो तलामा पुस्तकालय संचालन गरिएको छ । तल्लो तला भने भाडामा दिइएको छ । भाडामा दिइएको कोठामा क्यान्टिन चलाइएका छन् । विद्यालयले यही सत्तल भत्काएर स्कुल बनाउने योजना बनाएको हो । सत्तल भत्काएर स्कुल बनाउन पुनर्निर्माण प्राधिकरणले बजेट समेत दिएको प्राधानाध्यापक नेपालले जानकारी दिइन् । ‘६ कोठे भवन बनाउन बजेट स्वीकृत भइसकेको छ,’ उनले भनिन्, ‘यो योजना दुई वर्षका लागि हो । दुई वर्षभित्रमा भवन बनाउन सकिएन भने रकम फिर्ता जान्छ । फेरि पैसा जुटाएर भवन बनाउन मुस्किल हुन्छ । त्यही भएर यो सत्तल भत्काएर अर्काे बनाउने, अनि त्यसको तल्लो तलाचाहिँ गुठियारलाई नै प्रयोग गर्न दिने योजना बनाएका छौं । तर गुठियार मानेका छैनन् ।’


विद्यालयले यो सत्तल भत्काउन नदिने भए पश्चिमतिरको चौरमा भए पनि बनाउन तयार भएको बताएको छ । चौर पनि गुठियारले दिन मानेका छैनन् । चौरमा नेवार समुदायका थुप्रै जातीको कुलपूजा गर्ने ठाउँ भएकाले यसलाई पनि मास्न गुठियार मानेका छैनन् । ‘यहाँ धेरैको शक्तिपिठ छ,’ नीलबाराही गुठीका सचिव त्रिरत्न महर्जन भन्छन्, ‘२० नम्बर वडाबाट देउता ल्याएर विराजमान गर्ने ठाउँ हो यो । यहाँ धेरै जातीले देवाली गर्छन् । यस्तो महत्त्वपूर्ण ठाउँ मास्नु ? यस्तो हुन हामी दिंदैनौं ।’ यहाँ महर्जन, शाक्य, रन्जितकार, नापित, नकर्मी लगायतका कुलदेवता छन् ।


यहाँ दसैं र पाहाचर्‍ये पर्वमा ठूलो मेला लाग्छ । दसैंमा नवमीको दिनमा खड्ग जात्रा लाग्छ । क्वहिटीको आगमघरबाट खटमा राखेर देवता यहाँ ल्याइन्छ । देवताको खट विष्णुमती नदीबाट तार्नुपर्छ । रथ त्यहाँबाट तारिए पनि अघिपछि हिंड्ने सबैजना नदी तर्न सक्दैनन् । त्यही भएर उनीहरूका लागि काठको अस्थायी पुल बनाउने चलन छ । जात्रा सकिएपछि काठको पुल झिक्ने झलन छ । ‘यसरी झिकेको काठ दक्षिणतिरको सत्तलको माथिल्लो तलामा राख्ने चलन थियो,’ महर्जन भन्छन्, ‘त्यो ठाउँमा अहिले स्कुलको प्रशासनिक काम हुन्छ ।’ अहिले काठको पुल राख्ने चलन भने हराएको छ । त्यो ठाउँमा फलामको पक्की पुल बनेको छ ।

उपत्यका

त्रिचन्द्र क्याम्पस पुनर्निर्माण हुने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मुलुकको पुरानो कलेज त्रिचन्द्र क्याम्पस पुनर्निर्माण हुने भएको छ । त्यसनिम्ति राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा गुरुयोजना तयारी छलफल अघि बढाएको छ । बिहीबार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नेतृत्वको टोलीले त्रिचन्द्र क्याम्पसका प्रमुखसहितको टोलीसित छलफल गरेको हो ।


‘त्रिचन्द्र क्याम्पसको एउटा बृहत् गुरुयोजनासहित पुनर्निर्माण गर्नेबारे छलफल भएको छ,’ प्राधिकरणद्वारा बिहीबार जारी विज्ञप्तिमा छ, ‘रानीपोखरीसँगै रहेको त्रिचन्द्र क्याम्पसको ऐतिहासिक भवनको संरक्षण गरी उपयोगमा ल्याउने तथा क्याम्पसको पुनर्निर्माणलाई समन्वयात्मक ढंगले अघि बढाउने प्रस्ताव भएको छ ।’


छलफलमा क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने, क्याम्पसका भूगर्भ विभागका प्रमुख अनन्तप्रसाद गजुरेल, मेघराज ढकाल, रमेश थापालगायत सहभागी थिए ।

 

उपत्यका

ह्विलचियर प्रयोगकर्ता लक्षित माइक्रो

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अपांगता भएका अन्य व्यक्तिझैं ह्विलचेयर प्रयोगकर्ताका लागि पनि कतै आवतजावत गर्नु सहज हुन्न । उपत्यकामा मात्र होइन बाहिर पनि फुटपाट र सडकको अवस्था निकै नाजुक छ । यही समस्यालाई मध्यनजर गर्दै ‘हाइड्रोलिक लिफ्ट’ जडान गरिएको हायस भ्यानको बिहीबार उद्घाटन गरिएको छ ।


अपांगता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति संस्था (सीआईएल नेपाल) ले नेपालमै पहिलोपल्ट यस किसिमको हाइड्रोलिक लिफ्ट प्रयोग भएको दाबी गरेको छ । ‘अहिले त हाम्रा संस्थाका सदस्य नै पहिलो प्राथमिकतामा छन् । तर यसको प्रयोगलाई व्यापक बनाइनु आवश्यक छ,’ बिहीबार उद्घाटन कार्यक्रमपछि संस्थाका अध्यक्ष गणेश केसीले भने, ‘हिवलचियर प्रयोगकर्तालाई यात्रामा यसले निकै सहज हुन्छ । निजी बाहनमा मात्र होइन, सार्वजनिक यातायातमा पनि यसको प्रयोग हुनुपर्छ ।’


गत वर्ष कोरियन संस्थाले १६ सिटे उक्त भ्यान उपलब्ध गराएपछि अस्ट्रेलियन संस्थाको सहयोगमा त्यसमा लिफ्ट जडान गरिएको हो । हाइड्रोलिक लिफ्टको मूल्य झन्डै साढे तीन लाख भारु छ । यसलाई अन्य सवारीसाधनमा पनि जोड्न सके ह्विलचियर प्रयोगकर्तालाई एउटा व्यक्तिले गाडीमा धकेल्नुपर्ने र अर्कोले तान्नुपर्ने स्थिति नहुने केसी बताउँछन् । ‘एउटा पर्यटन कम्पनीले पनि केही दिन भाडामा दिन मौखिक आग्रह गरेको छ । अपांगता भएका पर्यटकलाई घुमाउन काम लाग्छ,’ केसीले भने ।

Page 6
सम्पादकीय

कसैको नहोस् यस्तो मरण

- कान्तिपुर संवाददाता

बसभित्र खुट्टा टेक्ने ठाउँ नभेटेपछि परिचालक छतमा चढ्ने भर्‍याङमा झुन्डिए । एक घन्टापछि बस गन्तव्यमा पुगेर रोकियो । सबै यात्री झरेर आआफ्नो घर लागे । बस चालक पनि झरे । परिचालकलाई खोजे, भर्‍याङ र छतमा पनि खोज्दा नभेटेपछि बसपार्क चाहारे ।


असोज २३ गते साँझ पुरानो बसपार्कबाट भक्तपुर सरस्वतीखेल जाने बस छुटेको थियो । बसपार्कमै भरिएको बस ठाउँ ठाउँका बिसौनीमा पनि रोकेर यात्री चढाउँदै अघि बढ्यो । बस खचाखच भरिनलाई चाडबाड आउनै पर्दैन । यो हरेक दिनको कहानी हो ।


भोलिपल्ट बिहान महानगरीय प्रहरी वृत्त थिमीले चालकलाई बोलायो । प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याएर शव देखायो । उनकै सहयोगी भएको सनाखत भयो । तर चालकलाई परिचालकको नाम, ठेगाना केही थाहा थिएन ।


सिन्धुपाल्चोक, बाह्रबिसे, खनियाबासका १८ वर्षीय मनिष तामाङ तीन महिनाअघि मात्र उक्त बसमा परिचालक भएका थिए । उनी त्यस साँझ छत उक्लने भर्‍याङबाट खसेर सडकमा बज्रेको यात्री र चालक कसैले पत्तै पाएनन् । करिब ७ मिनेट उनी सडकमा छट्पटिइरहे । सडकमा आवतजावत गर्नेहरूले पनि वास्ता गरेनन् ।


सेवामा खटिँदा यसरी कसैको मरण नहोस् ।


चालक सवारी साधनको अगाडिको आरामदायी सिटमा बस्छन् । परिचालक दिनको १२ घण्टा अर्थात् बिहान झिसमिसेदेखि झम्के साँझसम्म उभिएर आधा ज्यान बसभित्र टाउको सहित आधा ज्यान झ्यालबाट निकालेर यात्रीसित भाडा उठाउने गर्छन् । उनीहरू स्थायी जागिरे होइनन् । फेरिइरहन्छन् । रुखो र कडा मिजासका हुनसक्छन् किनकि, तिनलाई जसरी हुन्छ बढी यात्री चढाउने, पैसा उठाउने, साहुलाई बुझाउने, तेल हाल्ने र बचेको पैसाबाट चालक र आफू बाँड्ने प्रतिस्पर्धा हुन्छ । मौका मिले अलिअलि जोगाउँछन्, बाँकी फुर्मास गर्छन् ।
उनीहरूको कुनै पहिचान हुँदैन । पोसाक पनि हुँदैन । न कागजात नै । न नियुक्ति पत्र न परिचयपत्र । गुमनाम जीवन । न स्वास्थ्य जाँच न सुरक्षा प्रशिक्षण । उनीहरूको जीवनलाई सडकका अप्ठ्यारा मोड र खाल्डाखुल्डीले हरेक दिन जिस्क्याउने गर्छ ।


सामान्यतया एक दिनमा कति घण्टा उभिन हुन्छ ? पानी पिउने र पिसाब फेर्ने रुटिन के हुनुपर्छ ? शरीर बङ्ग्याएर बस्दा त्यसबाट स्वास्थ्यमा पर्नसक्ने असर के के हुन् ? धूलो, धूवाँको कुइरीमण्डलमा हराएर बेगमा हुइँकिएका सवारी साधनमा झुन्डिएर यात्रा गर्दा परिचालकको भविष्य के होला ? के बस व्यवसायी र सरकारले केही सोचेका छन् ?
परिचालक सुरक्षाबारे अहिलेसम्म कसैले केही गरेको छैन । ट्राफिक प्रहरीले गर्ने भनेको सम्झाइ बुझाइ हो । कहिलेकाहीँ चिट् थमाइदिने । बसको ढोका बन्द गरेर चलाउनुपर्ने, झ्यालबाट टाउको र शरीर बाहिर निकाल्न नपाउने, झुन्डिएर यात्रा गर्न नपाउने नियम पालना गराउन खोज्छ, सक्दैन । ट्याक्सी चालक माइक्रोबसका चालक र परिचालकको पोसाक सुरु भएकोलाई दुर्घटना घटाउने उपाय मानिएको छ ।


सरकारले गर्नुपर्ने काम भने प्रस्टै छन् । पञ्जीकरण नगरी यातायात सवारी साधनमा परिचालक राख्न नपाउने नीति कार्यान्वयन भएको छैन । चालक परिचयपत्र अर्थात् लाइसेन्स दिँदा निजी र सार्वजनिक यातायात कुन चलाउने भनी छुट्टिएको छैन । सार्वजनिक यातायातको साधन चलाउने र सहयोग गर्नेलाई नैतिक र व्यावहारिक शिक्षा दिएर व्यावसायिक रूपमा सवारी साधन चालक परिचयपत्र दिने व्यवस्था छैन ।


छोटो दूरीमा चल्ने यातायातका परिचालक एक जनामात्र हुन्छन् जसले यात्रीसँग भाडा उठाउने, चालकको सेवा सुश्रुसा गर्ने र गाडी सफाइसमेत गर्छन् । उनीहरू बढी पेलिन्छन् । सुरक्षित भए, आँट गरे भने उमेर चढ्दै जाँदा लामो दूरीका साधनका परिचालकझैं आफ्ना चालकसित गाडी चलाउन सिक्छन् । त्यही भएर त चालकलाई ‘गुरुजी’ भन्ने नाम काड्न थालियो ।


परिचालकको रोजगारीबापत सेवा सुविधा सुनिश्चित गर्ने, सामाजिक सुरक्षा र पहिचान स्थापित गर्ने प्राथमिकता परेको छैन । पेसा पनि अमर्यादित जीवन पनि असुरक्षित । परिचालकको सुरक्षामा यातायात व्यवसायीहरू नै जिम्मेवार हुनुपर्छ । त्यसको निगरानीको जिम्मेवारी सरकारको । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको ।
हरेकको जीवनको उत्तिकै मूल्य हुन्छ, अरूको सेवामा खटिनेको अझ बढी । उनीहरूलाई पहिचान नगर्दा हाम्रो राज्यको अनुहारमा धूवाँ पोतिन्छ ।

दृष्टिकोण

लोकतन्त्रमा मपाईंवाद

संघीय राज्य संरचनाभित्र मपाईंवाद लाद्न खोज्नु र राज्याधिकार केन्द्रीकृत गरेर सर्वसत्तावादी हुने आकांक्षा पाल्नु राष्ट्र, राज्य र राष्ट्रियताप्रति विश्वासघात ठहर्नेछ ।
- ध्रुव कुमार


विश्व राजनीतिमा उदारवादी लहर थामिएको छ । निर्वाचनकै माध्यमद्वारा थुप्रै मुलुकमा अनुदारवादी राजनीतिक नेतृत्व स्थापित हुनुले एकातिर प्रतिस्पर्धात्मक निर्वाचनको अभ्यास शंकास्पद हुनथालेको छ । अर्कोतिर नैतिकहीनता राजनीतिक नेतृत्व वर्गको चारित्रिक गुण भएकाले मानवीय मूल्यमा ह्रास आई लोकतान्त्रिक पद्धति क्षीण भएको छ । जस्तै– धुमधामसित गान्धी जयन्ती मनाइने लोकतान्त्रिक भारतमा अचेल गोड्सेको प्रतिछाया शासकीय नेतृत्वमा हावी भएको छ । भारतीय स्वतन्त्रता संग्रामका अग्रणी गान्धीको अहिंसात्मक आन्दोलनको सन्देश विश्वभरि छरिएको छ । उनका अनुयायीको कतै कुनै कमी छैन । तर मोदीले गान्धीलाई ‘राम नाम’ ओढाइदिनुसितै इतिहासको नवलेखन सुरु गरेका छन् । वैचारिक बहुलतामाथि चुकुल ठोक्दै मुलुकलाई धर्मान्धको बन्धकी बनाएका छन् । विद्यमान भारतीय राजनीतिक परिस्थिति सन् १९७५ को घोषित आपत्कालीन अवस्थाभन्दा बढी त्रासदीपूर्ण रहेको विख्यात इतिहासकार रोमिला थापरको अनुभव छ ।


अन्यत्रभन्दा दक्षिण एसियाली मुलुकहरूमा भारतीय लोकतन्त्र उत्प्रेरक तथा अनुकरणीय अभ्यास भएको छ । यस क्षेत्रमा भारतको भौगोलिक अवस्थितिकै कारण त्यहाँको सामाजिक, आर्थिक र राजनीतिक घटनाक्रमबाट छिमेकी राष्ट्रहरू अछुतो रहन सक्दैनन् । भारतमा मोदीको वर्चस्वसितै हाम्रा उत्तरी छिमेकी साम्यवादी चीन निकट भविष्यमै विश्वको प्रमुख आर्थिक शक्तिराष्ट्र बन्ने प्रक्षेपण छ । यसले गर्दा उदारवादी लोकतन्त्र र आर्थिक विकास बीचको अक्षुण्ण नाता शंकास्पद मात्र नभई बहुदलीयभन्दा एकदलीय व्यवस्था बढी उपयोगी सिद्ध हुने, त्यसैले शक्तिशाली नेतृत्वप्रति नै सर्वसाधारण आकर्षित हुने दृष्टिकोणले प्रश्रय पाउँदा हाम्रो राष्ट्रिय नेतृत्वसमेत प्रभावित भएको छ ।


शक्तिको मद र मातकै कारण भारतमा दिल्ली सरकारले ऋणमा डुबेका किसानको बृहत र्‍याली सीमामै रोकेर तिनका माग केन्द्रमा ठोक्किन दिएन । केन्द्रको मोदी सरकारले भने आफ्नो ४ वर्षे कार्यावधिमा पँुजीपतिहरूले विभिन्न बैंकबाट लिएका ३ लाख १६ हजार करोडको ऋण माफ गरिदिएको छ । (दि वायर १६ असोज २०७५) । यसले भारतीय लोकतन्त्रमा शासकीय शक्तिको अथाह दुरुपयोगकै चित्रण गर्छ । लोकतन्त्रको उदारमना मूल्य र मान्यतामा निरन्तर प्रहार हुने क्रम महाशक्ति राष्ट्र अमेरिकामा राष्ट्रपति ट्रम्पको उदयपछि झनै बढेको छ । ट्रम्प र उदारवाद दुई विपरीत ध्रुव भएका छन् । उनको अलोकतान्त्रिक क्रियाकलापले विश्व राजनीतिक संरचना अविश्वसनीय तवरले संक्रमित भएको छ । यसले चिनियाँ नेतृत्वकै आकर्षण बढाइदिएको छ । जुन व्यवहारमा समेत भ्रष्टाचारविरुद्ध कृतसंकल्पित र विकासप्रति प्रतिबद्ध छ ।


राजनीतिक वृत्तमा लोकतन्त्रको ह्रास हुनुको प्रमुख कारण महत्त्वाकांक्षी नेतृत्वबाट राज्यसत्ताको केन्द्रीकरण, वैयक्तिक लाभका लागि राज्यसंयन्त्रको निजीकरण, शक्ति पृथकीकरण अभ्यासको अपहेलना साथै प्रेस स्वतन्त्रतामाथि अंकुश कस्नुलाई लिइन्छ । यो प्रवृत्ति नेपालमा नजानिँदो पाराले मौलाउँदैछ । यिनै विकृतिका कारण संसदीय व्यवस्था धरापमा पर्दैछ । संसदको परिस्कृत तथा परिपक्व भूमिका सर्वत्र चासोको विषय भए पनि जनप्रतिनिधिहरूको उक्त संस्थाले आफै औपचारिक पुष्टि गर्नसकेको छैन । संसदीय अभ्यास सदैव कर्मकाण्डी र फिलतो रह्यो । संसद अधिवेशन बेला पहिलो पंक्तिमा आसिन हुने प्रभावशाली सांसदहरूको कुर्सी प्रायश: खाली हुने गरेको छ । संसदीय समितिको बैठकसमेत कोरम नपुगेर स्थगित भएको उदाहरण छ । सर्वसाधारणलाई प्रत्यक्ष लाभ हुने महत्त्वपूर्ण विधेयकहरू पारित हुँदैनन् । तर विधायिकाका सांसदहरूले स्थानीय विकास खर्चकै नाममा पनि वर्सेनि करोडौंको सुविधा लिन भने चुक्दैनन् । सांसदहरू विधायक हुनुभन्दा विकासे हुनु नै आफ्नो रुचिकर काम ठान्छन् । विकासको माध्यमबाटै जनताको सम्पर्कमा रहनुपर्ने कर्णप्रिय तर्क गर्छन् । तर प्रश्न के भने केन्द्र विधायिकामा चुनिएका तथा मनोनीत सांसदहरूले स्थानीय विकासको जिम्मेवारी बहन गर्ने हो भने स्थानीय सरकारको आवश्यकतै किन पर्‍यो ?
प्रतिनिधिसभा जनताद्वारा चुनिएकाहरूको संस्था भएकाले लोकतन्त्रमा सरकारले जनप्रतिनिधित्व गरेको मान्यता राख्छ । प्रत्यक्ष निर्वाचनद्वारा प्रतिनिधि चुनिने क्रममा राज्यले ठूलो धनराशि खर्चन्छ । हामीकहाँ प्रदेश तथा केन्द्रीय प्रतिनिधि चयनका निम्ति १२ अर्बभन्दा बढी रकम खर्चेको तथ्यांक छ । तर अझै प्रदेश सरकारले आकार लिएको छैन । केन्द्रमा प्रतिनिधिसभा गतिहीन रहेकाले कतिपयले सांसद नाखुस छन् । पार्टी ह्विप विकल्परहित हुनाले विवेक बन्धक राख्नुपर्ने बाध्यताले हामीसित अति नै नमिठो संसदीय अभ्यासको अनुभव पनि छ । चाहे त्यो टनकपुर सन्धिमा होस् वा एकीकृत महाकाली सन्धिको संसदमा अनुमोदनकै सन्दर्भमा होस् । हुन त संसदले सरकार चलाउँदैन । सरकारले चालेको प्रत्येक कदमको सूक्ष्म अवलोकन, अनुसन्धान, अध्ययन अनि समीक्षा भने गर्छ । गल्ती सच्याउन र सही बाटोमा हिँंड्न निर्देशित गर्छ । किनकि कार्यकारी संसदप्रति नै जवाफदेही हुन्छ । के यस्तो हुनसकेको छ ? कार्यकारी विधायिकाको नियन्त्रणमा छ ? कि मन्त्रीले संसदीय समिति बैठकमै सांसदहरूलाई हप्काउने चलन चलेको छ ? समितिको सुझाव र निर्देशनमा चल्नुपर्ने सम्बन्धित निकायका मन्त्रीको दबाब अनुसार समितिले निर्णय फेर्नु लोकतन्त्रको अवमूल्यन हुनु हो । विडम्बना त समितिका सदस्यहरूले कुनै प्रतिवाद गर्न नसक्नु मन्त्रीको प्रभुत्ववादी आचरणमात्र नभई सांसदहरूको समर्पणवादी चरित्र पनि उदांगिएको छ । एकातिर संसदीय समितिमा मन्त्रीको रजाइँ देखियो, अर्काेतिर राज्यव्यवस्था समितिमा त्यसको अध्यक्षको । त्यहाँ पत्रकारहरू निषेधित भएका छन् र अपारदर्शिता बढेको छ । लोकतन्त्र निसासिएको छ ।


सरकारको कार्यशैलीको कटुआलोचना प्रतिपक्षबाट नभई सत्तापक्षकै वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीले प्रतिनिधिसभाको रोस्ट्रमबाट गर्नु १३५ दिनसम्म चलेको वर्षे संसद अधिवेशनको उल्लेखनीय पक्ष छ । मन्त्रीहरूलाई देश र जनताले भोगिरहेको समस्याप्रति संवेदनशील भइदिन आग्रह गर्दै माधवकुमार नेपालले सरकारले भ्रष्टाचारीलाई पुरस्कृत गरेको, निर्मला पन्तको बलात्कारपछि हत्या र एसिड आक्रमणजस्ता जघन्य अपराधको रोकथामप्रति उदासीन रहेको भत्र्सना गरेर जनमानसमा व्याप्त असन्तुष्टि संसदमा पोखे । यसको चर्काे प्रतिध्वनि न्युयोर्कसम्म पुगेछ । संयुक्त राष्ट्रसंघको महासभामा व्यस्त प्रधानमन्त्री ओलीले स्वदेश टेक्नासाथ विमानस्थलमै सरकारको आलोचनाप्रति विमति राख्दै ‘यो सरकार ५ वर्षसम्म टिक्छ’ भनी जसरी उद्घोष गरे, त्यसले उनको मनमा चिसो पसेको तथ्य भने लुकेन । उनी अर्काे चुनाव जितेर झन् बलियो सरकार बनाउने भन्छन् । यो सम्भव छ ? ओलीले भेनेजुएलामा मडुरो, कम्बोडियामा हुनसेन र रूसमा पुटिनले जसरी चुनाव जितेका पनि होइनन् । तर उनले मुलुक ७ महिनामा मात्र गरिब भएको हो ? ७ महिनामा मात्र बाटाघाटा नबनेका हुन् ? भनी आलोचकहरूलाई प्रतिप्रश्न गरेर आफ्नो अनुदार छविसितै सरकारको अकर्मण्यतालाई छोप्न जसरी प्रयास गरे, त्यसप्रति जनता सहमत हुन सक्दैनन् । उनको यस्तै बोली र व्यवहारले उपलब्ध ५ वर्षीय वैधानिकतामा समेत आँच आउन सक्छ ।


मानवीय कमजोरी सबैमा हुन्छ । ओली अपवाद होइनन् । तर उनी सार्वजनिक व्यक्ति हुन् । अझ देशकै प्रधानमन्त्री । उनी मुलुकभित्र मात्र होइन, बाहिर पनि सरोकारवालाको निगरानीमा हुन्छन् । दुवै छिमेकीका शक्तिशाली तर अनुदारवादी नेतृत्वका निम्ति ओली ग्राह्य नै छन् । तर अराजकताबाट आक्रान्त मुलुकको जनताका निम्ति उनको ग्राह्यता त्यतिबेला अपरिहार्य हुन्छ, जतिबेला उनले सत्ताधिकार सदुपयोग गर्छन् । अन्यथा उनले ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्दैमा भ्रष्टाचार निवारण हुने होइन । ठूलठूला भ्रष्टाचारको त कुरै छाडौं, गरिबी निवारण कोषको अनियमितता तथा वृद्धाश्रममा भएका भ्रष्टाचारमा संलग्न भ्रष्टाचारी को हुन्, त्यसबारे ओली अनभिज्ञ छैनन् । तर दण्डहीनता र उन्मुक्तिले गाँजेको मुलुकमा भ्रष्टाचार नै सदाचार भएको छ । अनि ओलीले के यी सबै ७ महिनाभित्र मात्र भएका हुन् त भनी ठाडो प्रश्न गर्लान् ! जनतामा कस्तो प्रभाव पर्ला भनी सोच्नसम्म नसक्नु उनको अर्काे विशेषता भएको छ । कुनै बेला उनी निकटकै केही नेताले प्रधानमन्त्री दलाल र माफियाको चंगुलमा फँसेका छन् भन्ने सुन्दा ओलीले आफ्नो अन्तस्करण छाम्नुपरेको छ । कार्यालय पुग्ने कर्मचारीलाई दिनहँु भ्रष्टाचार गर्दिन भन्ने सपथ गराउने प्रचारबाजीले सरकार हाँसोको पात्र मात्र भएको छ । यस्तो उटपट्याङ शक्तिशाली सरकारले गर्दैन । यस्तो व्यवहारले लोकतान्त्रिक मर्यादा खण्डित हुन्छ ।


न्युयोर्कबाट फिरेलगत्तै ओलीले सरकारले मुलुकभित्र र बाहिर कुनै गल्ती गरेको छैन भनी प्रेसलाई सूचित गरे । उनको मपाईंवादको पछिल्लो सिकार भने सुस्तावासी भएका छन् । तिनका मर्का सुन्दै नसुनी, भेट्दै नभेटी बालुवाटारबाट अपमानित गरी फर्काइएका छन् । मपाईंवादको अर्काे नमुना काठमाडौं– ७ बाट जितेका सांसद हटाई हारेकालाई जिताउने चालबाजी भएको छ । निर्मला पन्त बलात्कार र हत्याकाण्डपछि थर्किएको सरकारप्रति जनविश्वासको पारो स्वाट्टै घटेको छ । समय सदुपयोग गर्न नचाहँदा शक्तिशाली ओली स्वयं निरीहताका प्रतिमूर्ति बन्दैछन् । हुनसक्छ, दसैं–तिहारको रमझमले जनआक्रोश सेलाउने अपेक्षा शक्तिका उपहासहरूले राखेका छन् । तर अब कार्यकर्तालाई अरिंगाल बनाएर दमनचक्र चलाएर ओली सरकारले राहत पाउने छैन । जनता शासित र शोषित हुन चाहँदैनन् । संघीय राज्य संरचनाभित्र मपाईंवाद लाद्न खोज्नु र राज्याधिकार केन्द्रीकृत गरेर सर्वसत्तावादी हुने आकांक्षा पाल्नु यदि अन्य अर्थ नलागे ओलीले राष्ट्र, राज्य र राष्ट्रियताप्रति नै विश्वासघात गरेको ठहर्नेछ ।

पाठक मञ्च

अलमलमा शिक्षा प्रणाली

- कान्तिपुर संवाददाता

१. अभिभावकको अविश्वास : २०६९/७० देखि २०७३/७४ को ५ वर्षमा सार्वजनिक शिक्षाबाट करिब ५ लाख विद्यार्थी पलायन भएका थिए भने २०७४/७५ को एकै वर्षमा करिब ९ लाख विद्यार्थी सार्वजनिक विद्यालयमा घटेको देखिन्छ । यो सरकारी शिक्षाप्रति अभिभावकको अविश्वास हो ।
२. अपनत्वको अभाव : सार्वजनिक शिक्षा कसको ? यो प्रश्न अनुत्तरित छ । न समुदायको न सरकारको । कारखाना मजदुर, यातायात मजदुर र घरेलु मजदुरका सन्तान, सिमान्तकृत एवं गरिबका सन्तानजस्ता हुँदा खानेमात्रै पढ्ने थलो बनाइएको छ, सरकारी शिक्षा । त्यसैले यसप्रति सरकारको पनि अपनत्व देखिएन ।
३. अधिक केन्द्रीकरण : नेपालको संविधान २०७२ को अनुसूची–८ बमोजिम विद्यालय शिक्षा स्थानीय सरकारको दायित्वभित्र परिसक्दा पनि स्थानीय सरकार सञ्चालन ऐन, अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन र संघीय शिक्षा ऐनका मस्यौदासमेत केन्द्रीकृत शिक्षा प्रणालीको पक्षपोषण गर्न उद्यत देखिन थालेपछि सरकारी शिक्षा घर न घाटको हुने भएको छ ।
४. अलपत्र शिक्षक व्यवस्थापन : २०५२ सालदेखिको अलपत्र शिक्षक व्यवस्थापन अहिले पनि जस्ताको तस्तै छ । दरबन्दी मिलान गर्न नसक्नाले विद्यार्थी थोरै भएका वा नभएका विद्यालयमा शिक्षक थुप्रने र बढी भएका विद्यालयमा
नपुग हुने रोग एकातर्फ छ भने ६२
हजार शिक्षक अपुग देखिएका छन् । त्यसमाथि विषय शिक्षकको अवस्था त कहालीलाग्दो नै छ ।
५. असन्तुलित नतिजा : ग्रेडिङ प्रणालीबाट विद्यार्थीको सिकाइ सुधार गर्ने सपना देखेको सरकारले यही ग्रेडिङ प्रणाली गुणस्तरहीन विद्यार्थी उत्पादन गर्ने कारखाना बनिसक्दा पनि अझै नयाँ सोच ल्याउनसकेको छैन ।
६. अस्वाभाविक नकारात्मकता : सरकारी मन्त्री र प्रधानमन्त्री समेतले निजी शिक्षाको मात्रै गुणगान गाउने तर
आफ्नो जिम्मामा रहेका करिब २८ हजार विद्यालयभित्र भए–गरेका केही राम्रा कामको पनि उच्चारण नगर्ने परिपाटीले शिक्षा निजीकरणतर्फ धकेलिँंदैछ । सार्वजनिक शिक्षाप्रति अस्वाभाविक नकारात्मकताको सिर्जना भएको छ ।
७. अपर्याप्त लगानी : विश्व बजारमा बढ्दो प्रविधि प्रयोग, प्राविधिक शिक्षा र गुणस्तरलाई पछ्याउनुपर्ने हाम्रो शिक्षामा सरकारी लगानी मरिचजस्तै चाउरिएको छ । संसार एक्काइसौं शताब्दीमा प्रतिस्पर्धात्मक शिक्षातर्फ उन्मुख भइसक्दा पनि नेपाल सरकार भने ‘खाए खा नखाए घिच’को शिक्षा प्रवाह गर्दैछ ।
८. अनुशासनको खडेरी : सार्वजनिक शिक्षालयभित्र दलीय राजनीतिको घुसपैठ गराइएकोले कर्तव्य र अनुशासनमा खडेरी देखिएको छ । यही खडेरीले सार्वजनिक शिक्षालाई खडेरीको भुमरीमा धकेलिदिएको छ ।
– मनप्रसाद वाग्ले, मीनभवन, काठमाडौं

पाठक मञ्च

माहुरी बनेकाहरूले पढुन्

- कान्तिपुर संवाददाता

विश्वप्रकाश शर्मा कुनै पार्टीका प्रवक्ता होलान् । तर उनले प्रधानमन्त्रीलाई लेखेको प्रेमपत्र प्रतिपक्षले मात्र होइन, अहिलेसम्म सत्तापक्षको लागि माहुरी बनिरहेकाहरूले पनि ठिक समयमा गरिएको ठिक प्रश्नहरूको प्रहार भनी विश्लेशण गर्नेछन् । होला कहीं कतै आफ्ना नजिककाको गलत सल्लाहको ओइरो प्रधानमन्त्रीको संयन्त्रले थेग्न नसकेको तर पनि दुई तिहाई त्यसमाथि धेरै ठूला कुरा सेफल्यान्डिङ भइसकेपछि पनि रफ्तार कम भयो कि भन्ने प्रश्न उचित हो । अनि आफ्नै जिल्लाका प्रधानमन्त्रीलाई लेखिएको यो पत्र ओजनदार पाएँ । जनताका मनमा जुन–जुन प्रश्नहरू तरंगित छन्, त्यसलाई नै यिनले सुझावका रूपमा पोखेका छन् । महंँगी, शान्ति सुरक्षा, विमानस्थल, बुढीगण्डकी, हबम्ननटोटा, वाइड बडीलाई उदाहरण दिँदै सरकारप्रतिको जनताको नैराश्यतालाई पत्रले विस्फोट गरिदिएको छ । लेखक कुनै एक पार्टीको प्रवक्ताभन्दा पनि नेपालीकै प्रवक्ताजस्तो लाग्छ, यो पत्र पढेपछि ।
– सुरेस खतिवडा, बुद्धशान्ति गाउँपालिका–५, झापा

 

पाठक मञ्च

रहर कसको ?

- कान्तिपुर संवाददाता

नयाँ समाचार आयो । रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिए । त्यहाँसम्म ठिकै छ । पदमा बस्न इच्छा नहुनेले राजीनामा गर्न पाइन्छ । तर अर्को खबर पनि आयो । त्यो स्थानमा वामदेव गौतमलाई दिने अरे । सुन्दा अचम्म लाग्छ, के रामवीर र पार्टीले मिलेर मात्रै दिन सकिन्छ र ? अथवा कानुन सम्भव छ र ? फेरि मध्यावधि चुनाव गर्नैपर्ला । त्यो चुनावको सम्पूर्ण खर्च लेनदेनदेखि आमचुनावमा जस्तै मतदाता खरिद–बिक्रीसम्मका हंगामा र औपचारिक प्रचार–प्रसारसम्म हुने फाल्तु खर्च पार्टीले गर्ने कि वामदेवले गर्ने ? यो प्रश्न सम्बन्धित क्षेत्रले मात्रै होइन, सम्पूर्ण देशवासीले गर्नेछन् । यसको उत्तर कसले दिने ? वामदेवलाई यो रहर कताबाट आयो ? कतै मनमोहन सरकार ढालेर एमाले फुटाएर वामदेवलाई बनाइदिने सपना देखाएर करोडौं खर्च गर्ने अव्यक्त गिरोहले उचालेर पुन: पछार्न खोजेको हो कि भनेर जनताले प्रश्न गर्ने बेला भएन र ? वामदेवले सोचेर मात्रै घोषणा गर्नुपर्छ । के पार्टी र जनताको सेवा संसद बाहिर बसेर गर्न सकिँदैन र ?


अन्त्यमा, काठमाडौं उपत्यकाका जनताले मनमोहनको गुण र वामदेवको उच्छृङ्खलता सम्झे भने तपाईलाई घाटा पर्ला । राजधानीका जनताले तपाईको र हर पार्टीको ह्विपलाई पूर्णरूपले पालना गर्नेछन् भन्ने ग्यारेन्टी कसले लिने हो ? राजाको शासनमा देशको माटो सुहाउँदो पञ्चायतमा पनि दरबारको इच्छा विपरीत उम्मेदवार बनेकी नानीमैया दाहाललाई चुनावकी रानी भनेर बीबीसी रेडियोले प्रशंसा गर्नेगरी भोट खनाउने जनता अझै जिउँदैछन् । तिनै जनताले चाहे भने तपाईलाई थला पार्न सक्नेछन् ।
– रामहरि बाजे, विदुर–४, नुवाकोट
***


वामदेव गौतममा त्यस्तो के करिश्मा छ, त्यो नेकपाले जान्ने कुरा हो ? गौतमलाई संसदमा प्रवेश गराउन यसरी मरिहत्ते गरेर लागिपर्नुमा आममानिसको बुझाइचाहिँ परिआउँदा उनलाई पनि प्रधानमन्त्री बन्ने सुअवसर मिलोस् भन्नका लागि यो सब गर्न लागिएको भन्ने छ । राजनीतिक दलभित्रका सबै प्रमुख नेताहरूले प्रधानमन्त्रीको चाहना राख्नु अस्वाभाविक भएन । त्यसो भन्दैमा एक निर्वाचन क्षेत्रबाट पराजित भएका नेतालाई अवसर दिन अर्को निर्वाचन क्षेत्रका सांसदलाई राजीनामा गर्न लगाउनु लोकतन्त्रकै उपहास
हो । यसको अर्को पाटो भनेको बर्दिया– १ बाट पराजित नेता वामदेव गौतमका लागि संसदमा प्रवेश गराउन आफू राजीनामा दिन तयार हुने काठमाडौं– ७ का सांसद रामवीर मानन्धरले काठमाडौं– ७ का आफूलाई मत दिएर जिताउने जनताको मतको अवमूल्यन गर्नु पनि हो । घर–घर गएर मत मागेर सांसद भएका मानन्धरले राजीनामा गर्नुभन्दा पहिले पुन: एकपटक आफू निर्वाचित क्षेत्रमा घर–घर पुगेर यो कुरा सोधेर मात्र निष्कर्षमा पुग्नसकेको भए उनको दायित्व पुरा हुने थियो ।
– महेशप्रसाद ढुंगाना, नयाँबानेश्वर, काठमाडौं
***

पाठक मञ्च

द्वन्द्वपीडित बिचल्लीमा

- कान्तिपुर संवाददाता

 सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही नेकपा माओवादी र राज्यपक्षबीच भएको हिंसात्मक संघर्षको चेपुवामा द्वन्द्वसंँग सरोकार नभएका निशस्त्र शिक्षकहरूको हत्या, यातना, अपहरण बेपत्ता, विस्थापन, घाइते, अंगभङ्ग र जागिरबाट बञ्चित गरिए । शान्ति सम्झौतापछि माओवादी सेनाका लडाकुको समायोजन, स्वेच्छिक अवकाश, पुन:स्थापन भयो, तर पीडित शिक्षकहरूलाई घर न घाटको बनाइयो ।


राजनीतिक दल र सरकारले पीडित शिक्षकका जायज मागको उपेक्षा गर्दै द्वन्द्वकालका भगौडा सुरक्षाकर्मीको कित्तामा अथ्र्याइँदैछ । सशस्त्र द्वन्द्वका क्रममा अवकाशमा परेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदल २०७१ को प्रतिवेदन लागु भएन । तर आतंककारी गतिविधि वा सुराकीमा संलग्न भनी द्वन्द्वकालमा हटाइएका शिक्षकहरूको माग सम्बोधन गर्न सरकारले २०६९ मंसिर २८ को निर्णयले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश जागेश्वर सुवेदीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगको विवरण पुस्तिकामा आवेदक संख्या ८६९ नोकरी अवधि जोड्ने र रोक्का रहेको तलब सुविधा, क्षतिपूर्ति आदि छ । मन्त्रिपरिषदले २०७३ मंसिर २६ मा राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनको कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीको विषयमा छानबिन गरी सुझाव पेस गर्न पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको थियो ।


समितिको कार्यादेश शिक्षा ऐनको दफा १६ छ (३) राजनीतिक पूर्वाग्रह राखी हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली गर्ने सम्बन्धमा २०५२ सालमा गठित कार्यदलले सिफारिस गरेका तथा सो कार्यदलको मापदण्डभित्र परी सिफारिस गर्न बाँकी रहेका शिक्षक र २०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्मको द्वन्द्व तथा सो समयपछि भएका आन्दोलनको कारणबाट सेवाबाट हटाइएका शिक्षक तथा कर्मचारीको विषयमा छानबिन गरी सरकारलाई सुझाव पेस गर्न एक पटकका लागि तोकिए बमोजिमको एक जाँचबुझ समिति रहनेछ ।’ जस अनुसार समितिको कार्यक्षेत्रभित्र नपर्ने २३० जना, स्थायी २३५ जना, नियुक्ति बुझी हाजिर हुन नसकेका १८ जना र अस्थायी २८४ जना छन् ।


तालुकदार मन्त्रालयले प्रतिवेदनको प्रति सार्वजनिक नभएको भनी दिएन । अर्थ मन्त्रालय दरबन्दी र बजेट ब्यस्थापन गर्न अनिच्छुक छ । साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनको क्षेत्राधिकारभित्र पनि यो विषय पर्दैन । पीडित शिक्षकको हकमा बेखबर छ । अत: जांँचबुझ समिति प्रतिवेदन पीडित पक्षका लागि बज्दै नबज्ने मुरलीको के काम सुनकै भए पनि भनेझंै भैरहेछ ।
– ज्ञानेन्द्रराज आरण, रामेछाप

Page 7
विविधा

म र मेरो नेपाल

जनसंख्या वृद्धि र त्यसभित्रको चलखेल, भूउपयोगमा फेरबदल तथा जलवायु परिवर्तनको प्रभावले हिमाल पग्लन थालेको छ । पहाड भत्कन थालेको छ । तराई मरुभूमि बन्दैछ ।
- डा. तीर्थबहादुर श्रेष्ठ


मेरो सम्पूर्ण जीवनकाल १९९४ देखि २०७५ सालसम्म संक्रमण राजनीतिको छत्रछायामै बितेको जस्तो अनुभव भइरहेको छ । शैशव कालका बेला १९९७ सालको सहिद काण्ड सम्झनामा छैन । २००७ साल पनि ‘जिन्दावाद’ र ‘मुर्दावाद’ भनेर उफ्रने बाहेक अरू केही भएन । त्यसपछि २०१७ सालसम्म पढाइतिर लागेंँ । २०१७ सालमा बीपी कोइरालाको सरकारले जागिरे बनाइदियो । २०४७ सालमा गिरिजाप्रसादले ढाक्रे बनाइदिए । ३० वर्षको जागिरे अवधिमा नेपाल घुमेर हेरँें । नेपाली दिदीबहिनी, दाजुभाइलाई भेटेरै ढोगभेट गरियो । आजका दिनमा फर्केर हेर्दा त्यो नेपाल कहाँ पुग्यो र ती नेपाली कहाँ छन् भन्ने प्रश्नहरू मगजमा खेलिबस्छन् ।


मेरो शैशव कालमा जति जनसंख्या नेपालभित्र थियो, अहिले उत्तिकै नेपाली नेपाल बाहिर छन् । किन ? काम र मामको खोजीमा अरूको सेवा गर्न, नोकरी गर्न, चाकरी गर्न, गुलामी गर्न । उत्तम खेती, मध्यम व्यापार र निर्धन चाकरी भन्थे हाम्रा पूर्वज । त्यसको अर्थ जति सेवा क्षेत्रबाट कमाइ हुन्छ, त्योभन्दा बढी वाणिज्य र उद्योगबाट हुनुपर्छ । त्यसभन्दा अझ बढी आम्दानी कृषि र वन क्षेत्रबाट हुनुपर्छ । अर्थ व्यवस्थाको यो तीनतले मन्दिर (आर्थिक पिरामिड) स्थायी र दिगो विकासको मूल स्तम्भ बन्न सक्छ । हामीले हाम्रै भूमि व्यवस्था र आफ्नै माटोको उब्जनीबाट समृद्धि भित्र्याउन सक्नुपर्छ । हाम्रा स्रष्टा एवं द्रष्टाले राष्ट्रिय विकासका लागि कृषि क्षेत्रलाई अगाडि सार्दा तराई–मधेसमा अन्नबाली, पहाडमा फलफूल र तरकारी एवं हिमालमा पशुपालनको विकासलाई निर्देशित सिद्धान्तका रूपमा अवलम्बन गर्न सिफारिस गरेका हुन् । यिनै तराई, पहाड र हिमाललाई अझ नियालेर हेर्न–बुझ्न सकेनौं र तिनका प्रकृति, परिवेश र प्रवृत्ति सम्मत विकास निर्माण गर्न सकेनौं भने हाम्रो राष्ट्रको भौतिक स्थिरतामा संकट आउन थाल्छ ।

 

हिमाली क्षेत्र
नेपालको २३ प्रतिशत भूभाग ५ हजार मिटरभन्दा उच्च भागमा छ । त्यहाँ सामान्यतया बाहै्र महिना हिउँ जम्छ । हिउँकै घर भएकाले यसलाई ‘हिमालय’ (हिम+आलय) भनिएको हो । यही घरमा रहस्यमय प्राणी यती बस्छ भन्ने धेरैको विश्वास छ । कतिपय वैज्ञानिक यतीको अस्तित्वलाई स्वीकार्दैनन् । यतीको अस्तित्व स्वीकारे पनि नस्वीकारे पनि यतीजस्तो हिममानवको बासस्थान पृथ्वीमा कतै छ भने त्यो हिमालय नै हुनुपर्छ । यती कौतुहल बचाइराख्नु उचित हुन्छ ।


सर्वोच्च शिखर सगरमाथा लगायत कञ्चनजंगा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, लाङटाङ आदि हिमशिखर विश्व पर्वतारोहण परिदृश्यमा विशिष्ट नाम हुन् । पर्वतारोहण र पर्यटनको प्रत्यक्ष सम्बन्ध पर्यावरणसँग गाँसिएको हुन्छ । स्थानीय प्रदूषणका विषयमा नेपालले सकारात्मक कदम चाल्दै आएको छ । विश्वको बढ्दो तापमानको प्रभाव भने हामीले आँकलन गर्नसकेका छैनौं । विभिन्न अध्ययनले देखाउँछन् कि विश्व तापमान वृद्धिको परिदृश्यमा नेपालको तराई र पहाडमा भन्दा हिमाली क्षेत्रमा तापमान धेरै
बढ्दो छ । सन् २००७ मा प्रकाशित अन्तर्राष्ट्रिय तथ्याङ्कले सन् २०३५ सम्ममा हिमालय सबै पग्लिसक्छ भन्ने होहल्ला मच्चाएको थियो । यस्ता मिथ्याङ्कले हामी पीडित छौं । तथ्याङ्क र मिथ्याङ्कको फन्दामा नपर्दा पनि हिमालको हिउँ घटेको अनुभव र अवलोकन बारम्बार सुन्ने गरेका छौं । हिमालयमा जमेको हिउँमा कार्बनका कण भेट्टाइएका छन् । हिमालको थाप्लोमा मडारिने कालो बादल हाम्रा नयाँ पाहुना हुन् । हाम्रा छिमेकी भारत र चीनको औद्योगिक विकासको प्रदूषण ‘एसियन कालो बादल’ (एसियाटिक ब्राउन क्लाउड) नामले प्रसिद्ध छ । हाम्रा हिमाल, हिमनदी तथा हिमताल अस्थिर र जोखिमपूर्ण अवस्थामा पुग्न थालेका छन् । जोखिम कम गर्ने क्षेत्रीय एवं अन्तर्राष्ट्रिय कदम चाल्न ढिलो गर्नु हुँदैन । विश्व जलवायु परिवर्तन विशेष गरेर विश्व उष्णीकरणको पहिलो सिकारका रूपमा हिमालय खडा छ ।


लेकाली क्षेत्र
सामान्यतया ३ हजार मिटरभन्दा उच्च भू–भाग लेकाली क्षेत्र मान्यौं भने त्यहाँ खेतीपाती हुँदैन । अपवादका रूपमा हिमालपारिका भोट क्षेत्रमा भने ४ हजार मिटरसम्म पनि अन्नबाली लाग्छ । त्यहाँ घाम लाग्छ । बादलले छेक्दैन ।


हिमालय पर्वत श्रेणीको दक्षिणी भेगमा ४ हजार मिटरको उचाइमाथि रूख उमिँ्रंदैन । सबैभन्दा उच्च क्षेत्रमा हुर्कने मुख्य रूख भोजपत्र हो । विभिन्न चिमाल र गुराँस तथा केही ठिंग्रेसल्ला पनि हुन्छन् । वृक्ष रेखाभन्दा उपल्लो लेकपाटनमा घाँसेमैदान अधिक हुन्छ । हजारभन्दा बढी प्रजातिका भुइँफूल प्रशस्तै फुल्छन् । जडीबुटी पनि प्रशस्तै फस्टाउँछन् । लेकाली क्षेत्र पशुपालन र जडीबुटीका लागि उपयुक्त छ । हाम्रो लेकाली क्षेत्र मेचीदेखि महाकालीसम्म सामान्यतया एकैनासको वन–वनस्पति पाइने क्षेत्र हो । पहाडी क्षेत्रमा जस्तो पूर्व–पश्चिम भिन्नता लेकाली भागमा पाइँदैन ।


लेकाली भू–भागको उत्पादन र उत्पादकत्वलाई तीनतिरबाट नकारात्मक प्रभाव पर्दैछ । पशुपालनमा विशेष दक्खल सँगालेका गोठालाहरू विदेश पलायन हुनाले लेकाली खर्क र पाटन रित्तिन थालेका छन् । जलवायु परिवर्तनको प्रभाव थपिनाले चरिचरन क्षेत्र काँडेदार झारको अतिक्रमणमा पर्नथालेका छन् । प्राकृतिक वृक्षरेखामा फेरबदल भएर जैविक विविधतामा प्रभाव देखिन थालेको छ । यार्चा गुम्बु लगायतका बहुमूल्य जडीबुटीको उत्पादनमा विशेष व्यवस्थापनको खाँचो देखिन थालेको छ । लेकाली उत्पादनको विकासमा राष्ट्रिय प्रयास न्युन छ । बेलैमा सचेत हुन आवश्यक छ ।

 

पहाड–पर्वत
नेपालको परिचय विशेषमा पहाड–पर्वतका कुरा अधिक झल्कन्छ । हुन पनि औलो निर्मूल हुनुभन्दा पहिलेको नेपाल मानव बस्ती पहाडैतिर केन्द्रित थियो । पहाडिया मूलका शासक र प्रशासकका कारण पनि नेपालको परिचय पहाड–पर्वतसँग अधिक जोडिन पुग्यो । त्यसमा हिमालयको प्रभाव थपिन पुग्दा नेपालको पहिचान हिमाल, पहाड–पर्वत अर्थात् अंग्रेजी शब्दले ‘माउन्टेन’ भन्ने परिवेश बुझिन थाल्यो । यस पृथ्वीको लगभग २४ प्रतिशत भूभाग पहाड–पर्वतले ओगटेको छ । तर माउन्टेनको परिभाषा चित्तबुझ्दो रूपमा स्थापित भएको छैन । पहाड–पर्वत अझै कौतुहलको विषय छ । पहाड बुझ्न त्यसलाई चढेरै हेर्नुपर्ने हुन्छ । आफैंले नव्यहोरिकन पहाड–पर्वत बुझ्न सकिँंदैन । तसर्थ हाम्रा छिमेकी राष्ट्रहरूलाई पनि नेपाल बुझ्न गाह्रो छ ।


नेपाल हिमाल, पहाड र तराईको संयुक्त रूप हो । तर यिनको परिभाषा र नामकरण गर्ने विद्वानहरूबीच एकमत छैन । सबैभन्दा सरल परिभाषा हर्क गुरुङले जुराइदिएका छन् । उनका अनुसार बाह्रैकाल हिउँ जम्ने क्षेत्र ‘हिमाल’ (५ हजार मिटरभन्दा उच्च क्षेत्र), जाडोमा हिउँ पर्ने र अरू बेला खुल्ने क्षेत्र ‘लेक’ (३ हजार–५ हजार मिटर) र हिउँ नपर्ने खण्ड ‘पहाड’ (३ हजार मिटरभन्दा होचो भाग) हुन् ।


हिमाली क्षेत्रले नेपालको २३ प्रतिशत भू–भाग ओगटेको छ । लेकाली क्षेत्रले २० प्रतिशत जमिन ओगट्छ । त्यहाँ लगभग ७ प्रतिशत जनसंख्या छ । पहाडी क्षेत्रले ३० प्रतिशत भूभाग ओगट्छ । त्यहाँको जनसंख्या सम्पूर्ण नेपालको ३८.१७ प्रतिशत छ । जनसंख्या र जमिनको दृष्टिले पहाडी क्षेत्र संवेदनशील र चलायमान छ । २०१८ सालदेखि २०३७ सालमा मैले घुमेका पहाडमा कहीं सडक थिएन । राष्ट्रियकरणको प्रभाव र काठ–दाउराको अभावले वन मासिने क्रम तीव्र थियो । डाँडा नाङ्गिने र मानिस तराईतिर बसाइँ सर्ने प्रवृत्ति बढ्दै थियो । भूक्षयका कहालीलाग्दा वृत्तान्त पढ्न पाइन्थ्यो ।


पहाडी क्षेत्रलाई ‘मिडल माउन्टेन’ भन्ने चलन छ । जैविक विविधता विशेष गरेर वन विविधताका दृष्टिले पहाडी क्षेत्र ज्यादै धनी छ । नेपालका ३५ प्रकारका वनमध्ये २८ प्रकारका वन यस क्षेत्रभित्र भेटिन्छ । नेपालका ११८ खाले पर्यावरणमध्ये ५३ वटा यसै क्षेत्रभित्र पाइन्छ । सांस्कृतिक विविधताको सर्वाधिक प्रचुरता यही पहाडी क्षेत्रमा कायम छ । जात–जाति, भाषा–भाषी, भेषभूषाको विविधता मेचीदेखि महाकालीसम्मको पहाडी क्षेत्रमा अधिक भेटिन्छ । वर्तमान नेपालका प्राय: सबै पहाडी जिल्ला सडक सञ्जालभित्र परिसकेका छन् । पञ्चायत कालको गाउँ फर्क र जनश्रमदान, त्यसपछि ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने अभियान र संघीय संरचनाको नयाँ जोशले बाटो खन्ने कामलाई सर्वाधिक महत्त्व दिइआएको छ । बाटो खन्नुको अर्को नियति नयाँ पहिरो निम्त्याउनु र सवारी दुर्घटनामा ज्यान फाल्नु स्वाभाविक बनेको छ । मोहन मैनालीले ‘देखेको देश’ (२०७५) मा पहाडी बाटोको वातावरणीय चिन्ता प्रस्टसँग उजागर गरेका छन् । समयमै गल्ती सुधार भयो भने हाम्रा पहाडी परिवेश घाउ निको पार्न सक्षम छन् । त्यसको ज्वलन्त उदाहरण सामुदायिक वन व्यवस्थापनले स्थापना गरेको छ । नेपालका २२ हजारभन्दा बढी सामुदायिक वनमध्ये पहाडी क्षेत्रका सामुदायिक वनको भूमिका सराहनीय सावित छन् ।


वातावरणको दृष्टिले पहाड सक्रिय रूपमा जिउँदो छ । पहाडलाई फलफूल, तरकारी र जडीबुटी खेतीले समृद्ध बनाउन धेरै समय लाग्दैन । चिया, कफी, सुठो, अदुवा र अलैंचीमात्र हैन, चिराइतो र टिमुरजस्ता जडीबुटी पनि प्रशस्तै उत्पादन हुन्छन् । हामीले तराई र पहाडलाई उत्पादनशील बनाउन सक्यौं भने हामीकहाँ आइपुग्ने रेल होस् वा ट्रक, यहाँबाट रित्तै फर्कनु पर्दैन । पहाडी क्षेत्रको विकासमा जलविद्युतलाई विशेष बढावा दिने र पर्या–पर्यटनको विकासमा अरू सक्रिय हुनुपर्ने कुरामा दुईमत नहोला । तर जमिनको स्थायित्व र समन्यायिक सामाजिक व्यवस्थामा कुनै आँच आउनु हुँदैन ।

 

तराई–मधेस
म दुई वर्षको दूधेबालक छँदा चितवनको जंगलमा जुद्धशमशेरको एउटै सिकारमा १२० वटा बाघ, ३८ वटा गैंडा, १५ वटा भालु र २७ वटा चितुवा मारिएको थियो । अंग्रेज पाहुना लर्ड लिनलिथगो कति प्रसन्न भए होला ? चितवनको वनजंगल कति घना थियो होला ? आज त्यहाँमात्र ९३ वटा बाघ छन्, त्यो पनि सरकार, सेना र अन्तर्राष्ट्रिय संघ–संस्थाको ४६ वर्षको प्रयासपछि । चितवनदेखि पूर्वमा कोशी नदीसम्मको तराई भावरमा पनि निकै घना वन थियो भन्ने विवरण कोलोनेल कर्कपाट्रिकले २ सय २५ वर्ष पहिले (सन् १७९३) उल्लेख गरेका थिए । सोमेश्वरदेखि कोशीसम्मको क्षेत्रबाट प्रत्येक वर्ष २ सयदेखि ३ सय हात्तीलाई जंगलबाट कब्जा गरेर भारतमा बिक्री गर्न लैजाने चलन थियो । अहिले यो क्षेत्र प्रदेश २ मा पर्छ । सबैभन्दा कम वनक्षेत्र भएका जिल्ला त्यहीं पर्छन् । जनघनत्व त्यहीं बढी छ । बाढीको प्रकोपले त्यहींका मानिस बढी प्रभावित छन् । सप्तकोशी शत्रुभन्दा निर्दयी बनेर पुरा जिल्लै सप्तरी (सप्त+अरी) को नामले स्थापित छ । प्रत्येक वर्षको वर्षायाममा मानिस एक जीवन बाँच्न हजार मृत्यु सामना गर्छन् ।


प्रदेश–२ मा केही मौलिक वन बाँकी रहेको क्षेत्र बारा, पर्सा र रौतहटमा पर्छ । बाराको वन चर्को विवादमा छ । त्यस जिल्लामा ३० हजार ८ सय हेक्टर वनक्षेत्र छ । त्यसमध्ये २७ प्रतिशत अर्थात लगभग ८ हजार हेक्टर वन मासेर अन्तर्राष्ट्रिय विमानस्थल र त्यसका लागि आवश्यक नगर निर्माणको प्रस्ताव छ । त्यस आयोजनाको विवरणले २४ लाख रूख बारा जिल्लामा काटिने र त्यसको बदला ६ करोड १२ लाख रूख अन्यत्र रोप्ने कुरा बताइन्छ । रूख रोप्ने कहाँ हो, यकिन छैन । रूख रोपिहाल्दा पनि सयौं वर्षको समयावधिपछि मात्र वनले आफ्नो स्वरुप लेला । भनिन्छ, सालको वृक्ष ‘सौ साल खडा, सौ साल लडा र सौ साल सडा’ । समयान्धि सोच वातावरणका लागि उपयुक्त हुँदैन ।


‘तराई हेर कति राम्रो हरियो वन हुनाले’ भन्ने लोकप्रिय गीत २०१७ साल पहिलेको नेपालमा अति उपयुक्त हुने थियो । त्यसबेला वनका रक्षक एवं संरक्षक थिए, लामखुट्टे र तिनका भाञ्जा औलोको ज्वरो । औलो निर्मूल भएदेखि तराई–मधेस वन कसैबाट सुरक्षित भएन । विसं २०१७ देखि २०३७ सम्म निकै वन फँडानी भयो । वनक्षेत्र घटेर ६ लाख ४५ हजार ३ सय हेक्टरमा झर्‍यो । २०५० सालताका ५ लाख ४५ हजार ९ सय हेक्टरमा झर्‍यो ।


चार वर्ष पहिले सन् २०१४ को सरकारी आँकडाले तराई क्षेत्रको २०.४१ प्रतिशत भू–भागमा मात्र वनक्षेत्र (४ लाख ११ हजार ५ सय ८० हेक्टर) रहेको देखाउँछ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र सुदूर–पश्चिम प्रदेशको राजधानी बसाउन तराई भावरको वनमाथि नयाँ दबाब सिर्जना हुँदैछ । तराई भावर र चुरेको पारिस्थितिकीय प्रणालीमा हाल मौजुदा वन क्षेत्रको अहं भूमिकालाई बिर्सेर वन अतिक्रमण र जग्गा अधिग्रहण गर्न थाल्नु विकास नभई विनाशको कारण बन्न सक्छ । वातावरणीय सन्तुलन र स्थिरतामा आघात पुग्छ । अझ चुरेलाई चिरेर पूर्व–पश्चिम लोकमार्ग निर्माण गर्ने हो भने त्यो ‘विनाशकाले विपरीत बुद्धि’ हुन जानेछ ।


तराईको वनजंगल र संरक्षित क्षेत्रहरू विश्वकै दुर्लभ वन्यजन्तु र वनस्पतिका अन्तिम आश्रयस्थलका रूपमा मौजुद छन् । संरक्षित क्षेत्रलाई बाहिरी अरू वन क्षेत्रले जैविक मार्ग र आश्रयस्थलको टेवा दिनसकेन भने हाम्रा राष्ट्रिय निकुञ्जहरू मानव सागरका बीचमा टुप्लुक्क टापुमात्र हुनेछन् । तिनको भविष्य लामो हुँदैन । आजभोलि चर्चामा रहेको निजगढ विमानस्थलले जंगली हात्तीको आवत–जावत गर्ने जैविक मार्ग अवरुद्ध हुन्छ । कैलालीको गोदावरी क्षेत्रमा वन विनाश भयो भने पाटेबाघको जैविक मार्ग अवरुद्ध हुन्छ । बाघ, हात्ती, गैंडा आदि जीवजन्तु पर्यावरणका ‘स्ट्रिट लाइट’जस्तै संकेत चिह्नमात्र हुन् ।


तराई, भावर, चुरे र मधेसको वनलाई संरक्षण गर्न सकिएन भने यस क्षेत्रको कृषि विकासमा पनि नकारात्मक प्रभाव पर्छ । तराई–मधेसलाई अन्नबाली उत्पादनको मूल थलो बनाउने सपना साकार हुँदैन । तराईका जिल्लाहरू जाडो याममा शीतलहरको सिकार बनिरहेका छन् । भारतको काश्मिरदेखि बंगलादेशसम्म शीतलहरबाट प्रभावित हुन्छन् । यसको मूल कारण वन विनाश र प्रदूषण विकास हुन् । तराईको वातावरणीय सुरक्षाका लागि न्युनतम वनक्षेत्र कति आवश्यक पर्छ र हाम्रा संवेदनशील क्षेत्रहरू कहाँ छन् भन्ने शीघ्र पहिचान हुनुपर्छ । तराई, भावर र चुरेका अति संवेदनशील क्षेत्रका लागि संरक्षण नीति पनि तर्जुमा हुनुपर्छ । त्यसो हुनसके मात्र नेपालको ५४.२६ प्रतिशत जनसंख्या बोक्ने भूमि स्थिर र दिगो बन्न सक्ला ।

 

अन्त्यमा,
नेपालको अस्तित्व हिमाल, पहाड र तराईको सहअस्तित्वमा टिकेको छ । हराभरा तराई, रसिलो पहाड र सुन्दर हिमालको परिदृश्यमा नेपालको पहिचान खुल्छ । जनसंख्या वृद्धि र त्यसभित्रको चलखेल, भू–उपयोगमा फेरबदल तथा जलवायु परिवर्तनका विशेष प्रभावले हिमाल पग्लन थालेको छ । पहाड भत्कन थालेको छ । तराई मरुभूमि बन्दैछ । मरुभूमिलाई फुलााएर मह र दूधको देश बनाउने संकल्प इजरायलीले पुरा गरे । अब नेपालीले तराईलाई अन्नभण्डार, पहाडलाई फलफूल–तरकारीको बागवानी र लेकाली क्षेत्रलाई पशुधन र जडीबुटीले सम्पन्न बनाउने अठोट गर्नुपरेको छ । गार्हस्थ्य उत्पादनको परिदृश्यमा सेवाबाट प्राप्त हुने राशिलाई व्यापारले जित्नुछ र व्यापारलाई कृषिले उछिन्नुछ । कृषि, व्यापार र सेवाको सन्तुलित अनुपातलाई मजबुत बनाउन वन र हरियाली अनि वनस्पति र वन्यजन्तुको संरक्षणलाई भुल्नु हुँदैन । त्यसका लागि आवश्यक शक्ति सञ्चालन गर्ने क्रममा नेपाली जनशक्ति र जलशक्तिलाई सर्वोपरि महत्त्व दिनुपर्छ । समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई विपनामा साकार पार्न नेपाललाई ब्युँझेर हेर्न सकौं । शुभकामना ।
मदन पुरस्कार वितरण समारोहमा बिहीबार प्रस्तुत प्रवचन ।

विविधा

छिटै चिने बाथ निको

सुरुको ३ महिनामै सही पहिचान गरेपछि बायोलोजिकल औषधि प्रयोगबाट बाथरोग नियन्त्रण गर्न सकिन्छ ।
- डा. विनित वैद्य


पछिल्लो दशकमा बाथरोगको जाँच र उपचार पद्धतिमा धेरै अन्तर आएको छ । बाथ दीर्घरोग हो । यो शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरका बिभिन्न अङ्ग तथा जोर्नीलाई असर गरेपछि देखापर्छ । बाथरोगका दीर्घकालीन असरहरू मानव शरीरमा निकै नकारात्मक हुन्छन् । बाथका कारण हातखुट्टाका औंलाहरू बाङ्गिन, कुप्रो तथा कुँजो हुनसक्छ । बाथले छालामा निको नहुने घाउ, दिसामा रगत, सेतो रगतको कमी र आँखाको समस्या गराउँछ । कहिलेकाहीं त बाथले बारम्बार गर्भ खेर जाने समस्या पनि गराउन सक्छ ।


पछिल्लो समय बाथको औषधि ढिलो प्रयोग गर्ने चलन थियो । औषधिले रोग निरोधक शक्तिलाई दबाउने हुनाले रोगले कडा रूप नलिएसम्म प्रयोग गरिँदैन थियो । तर आज यो समय छैन । बाथरोगमा अनुसन्धान बढ्दै गएपछि नयाँ तथ्य पत्ता लाग्दै गएका छन् । बाथको उपचार जति सुरुवातमा गरियो, त्यत्ति सहज हुने गर्छ । बाथले अङ्गहरू बिगारेपछि थामथुम गर्ने प्रवृत्ति त्याग्नुपर्ने देखियो । हातका जोर्नीहरूको एमआरआई स्क्यान तथा नयाँ प्रविधिका रगत जाँचले बाथको सुरुवाती अवस्थामै पहिचान गर्न सकिने भयो, सुरुवातमै औषधि गरेपछि ठिक भएको पनि देखियो, ठिक नहुनेको अङ्गभङ्ग जोगियो । तर यी प्रविधि साह्रै महंँगा थिए र अझै छन् । सर्वसुलभ छैनन् । सस्तो प्रविधिको अनुसन्धान हँुदै जाँदा अल्ट्रा साउन्ड डोप्लर स्क्यान भने सस्तो र सुलभ देखियो । यसले रोगको पहिचान चाँडै गर्न मद्दत गर्ने देखियो ।


विकसित मुलुकमा बाथरोगको पहिचान सुरुको ३ महिनामै गर्ने प्रयास गरिन्छ । सही पहिचानपछि बायोलोजिकल औषधि प्रयोग गरेर नियन्त्रण गरिन्छ । के यो उपचार पद्धति नेपालमा अपनाउन सकिन्छ ? हाम्रो स्वास्थ्यमा सेवा भर्खरै सुरुवाती अवस्थामा छ, हामी बल्ल सरुवा रोगबाट नसर्ने रोगतर्फ ध्यान दिँदैछौं । सरोकारवालाको ध्यान बाथमा अन्तिम चरणमा जान्छ । यस्तो अवस्थामा हामीले विकसित मुलुकमा प्रयोग हुने सबै प्रविधि र उपचार सहज रूपमा प्रयोग गर्न सक्दैनौं । भएका प्रविधिको सही उपयोग र नयाँ प्रविधिलाई जनमानसको पहुँचमा पुर्‍याउने कोसिस हामी सधैंै गर्दैछौं र धेरै मात्रामा सफल पनि भएका छौं । पछिल्लो ६ महिनादेखि पावर डप्लरको प्रयोगले धेरै कडा बाथरोगको पहिचान सुरुवातको ३ महिनामै गर्न सक्षम भएका छौं । पहिचानसँंगै बाथरोगको सही उपचार अपनाउँदा बाथरोगीको सुधार पनि पहिलेभन्दा निकै सन्तोषजनक देखिएको छ ।


बाथरोगको प्रारम्भिक लक्षण भनेको हातखुट्टा, मेरुदण्ड वा कम्मरको जोर्नी बिहानपख दुख्न थाल्नु हो । जोर्नी तथा शरीर बिहान अररो हुने, कक्रिने वा सुन्निने हुनसक्छ । सुरुवातका अन्य लक्षण भनेको मुखमा घाउ आइरहने, बारम्बार आँखा रातो हुने, पानी चलाउँदा औंला पहेँलो वा निलो हुने हुन् । लक्षण सुरु भएका बिरामीको उमेर र लक्षण अनुसार रगत, सूक्ष्म नसा तथा पावर डप्लरले जाँच गरिन्छ । पछि जटिल हुँदै जाने वा नहुने खालको बाथ भनेर पत्ता लगाइन्छ । त्यही अनुसार जीवनभर सेवन गर्नुपर्ने दबाइ सुरुवात पनि गर्नुपर्ने हुन्छ ।
बाथरोगका औषधि दुई थरी हुन्छन् । दुखाइ र सुन्निने कम गर्ने पेनकिलर र स्टेटोरड औषधि जुन केही समयभन्दा बढी प्रयोग गर्न हँुदैन । अनुचित प्रयोगले समस्या निम्त्याउन सक्छ । अर्को हुन्छ– डिजिज मोडिफाइङ ड्रग्स । यो समूहको औषधि बाथको प्रकार अनुसार फरक हुन्छ । यो औषधिको कसै–कसैमा नकारात्मक असर देखिन सक्छ र समय–समयमा रगत परीक्षण गर्नुपर्छ । यो समूह अन्तर्गत बायोलोजिकल औषधि पनि पर्छ । यो बाथरोगको उपचारमा आएको नवीनतम औषधि हो । यसको मूल्य अत्यधिक भएकाले नेपालमा यसको प्रयोग धेरैले गरेको पाइँदैन । सामान्यतया बाथरोगीले खाने कुरा बार्न पर्दैन । युरिक एसिड अथवा आमबाथको बिरामीले मात्र रातोमासु, जाँडरक्सी, गेडागुडी, टमाटर आदि बार्नुपर्छ । अरु धेरै प्रकारका बाथ भने चुरोटको धुवाँ र चिसो हावापानीका कारण बढ्ने गरेको पाइन्छ ।
लेखक नेसनल बाथरोग सेन्टरमा कार्यरत छन् ।

विविधा

प्रधानमन्त्रीलाई प्रश्न

प्रधानमन्त्रीज्यू, तपाईंलाई सब कुराको ज्ञान छ, तर तिनलाई व्यवहारमा लागु गर्न सक्नुहुन्न भने कसरी सफल बन्नुहुन्छ ?
- रोजिना पोखरेल


निजामती कर्मचारीलाई राज्यको सक्षम र दिगो एवं स्थायी सरकार मानिन्छ । तर निजामती कर्मचारीमाथि अल्छी, भ्रष्टाचारमा लिप्त, कामचोर प्रवृत्तिको भनेर लाञ्छना लगाउने गरिन्छ । तर किन कर्मचारी यस्ता भए ? सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यसबारे के–के रणनीति बनाए ? कर्मचारीलाई सकारात्मक उत्तप्रेरणाका लागि के–के गरे ? कर्मचारी समायोजन गर्न किन सकेनन् ? कर्मचारीलाई हप्काएर, दाषी देखाएर, हाजिर छड्के गरेर के परिवर्तन आयो र आउँछ ? नकारात्मक उत्प्रेरणा र सस्तो लोकप्रियताले के प्रगति देखियो ?


विकासे मन्त्रालयका मन्त्रीले विभाग, आयोजना, डिभिजनमा प्रमुख लगायत अन्य कर्मचारी खटाउँदा कस्तो प्रक्रिया अपनाउँछन् ? विभागीय प्रमुख, आयोजना प्रमुख बनाउँदा रकम मागियो कि मागिएन ? आर्थिक वर्ष समाप्तपछि कार्यालय, डिभिजन, विभाग हुँदै मन्त्रालयसम्म कमिसन आइपुग्यो कि पुगेन ?


अर्थ मन्त्रालयमा असार महिनामा थप बजेट निकासा गर्दा गत वर्षहरूझैं प्रिपेडमा १.५ देखि ३ प्रतिशतसम्म कमिसन मागियो कि मागिएन ? कमिसन नबुझाउनेको पनि रकम निकासा दिनु भनी अर्थमन्त्रीले निर्देशन दिए त ? आन्तरिक राजस्व विभाग, भन्सार विभाग लगायतका राजस्वका कार्यालय, विभागबाट उठाइएको दाम सहितका मुठाहरू अर्थमन्त्रीकामा पुग्यो कि पुगेन ?


विभिन्न समूह, एसोसिएसन, समिति, स्वार्थ समूहले आफ्ना हितका लागि नीतिगत निर्णय गराउँदा रकमको प्रभाव पर्‍यो कि राष्ट्रहितको ? संस्थान, कम्पनी, समितिमा सञ्चालक, सदस्य, प्रमुख नियुक्तिको मापदण्ड के कायम गरियो र गरिँदैछ ? निष्पक्षताको आधार के छ ?


डन, तस्कर, कालोबजारीसँगको सम्बन्धमा प्रहरी, इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालयमा केही परिवर्तन आयो ? तस्कर, कालोबजारीले प्रहरी, प्रशासनलाई दाम चढाउन छाडेको छन् ? उठेको दाम कहाँसम्म पुग्दैछ ? के त्यो जालो तोडियो ?


मालपोत, नापी, भूमिसुधार, जिल्ला प्रशासन, यतायात लगायतका जनसम्पर्क बढी हुने कार्यालयमा दलाल, रकमी सहयोगी, एजेन्टलाई प्रवेश निषेध गरियो ? त्यहाँको ठड्डामा सोझै पहुँच पुर्‍याउने दलालहरू आउनछाडे ? दिनहँु कार्यालय, कर्मचारीले पाउने, उठाउने घुसमा कमी आयो ? अध्यागमनमा सुधार आयो कि आएन ? त्यहाँको मानव तस्करीको सेटिङ तोडियो कि तोडिएन ? सेटिङमा कमिसन उठ्न बन्द भयो ?


उपभोक्तामार्फत गरिने कार्य, विकासका काममा ठेकदारी प्रथा बन्द गरियो ? ठूला विकासे निर्माण गराउँदा, सेवा खरिद गर्दा अलिअलि लागत अनुमान बढाउने, ठेक्का सम्झौतापछि मोबिलाइजेसन दिँदा १ देखि २ प्रतिशतसम्म, प्रत्येक बिल भुक्तानीपछिको कमिसन र समग्र निर्माणको ६ देखि २० प्रतिशतसम्म कमिसन लिने चलन छाडेर सम्झौता अनुसार
कार्य भयो भएन भनेर चनाखो हुन थालियो ?


ठेक्का अवधिको पटक–पटक म्याद थप गर्ने चलन तोडियो ? पुरस्कार, पदक प्रदान गर्दा तिनको मान राखियो कि भागभन्डा र अफन्तवादमै सीमित गरियो ? ससाना जलविद्युत आयोजना प्राथमिक सेयर जारी हुँदा कैयौं गुना आवेदन पर्छ । सरकार अग्रसर भएर आफ्नो नेतृत्वमा सर्वसाधारणको सेयर प्रतिशत बढी हुनेगरी आयोजना निर्माण गराउन किन लाग्दैन ?


कुल गार्हस्थ उत्पादनको अधिक हिस्सा राख्ने कृषिलाई व्यावसायिक र सम्मानित बनाउन के गरिँदैछ ? युवाका लागि वैदेशिक रोजगारको नयाँ गन्तब्य खोज्ने कि कृषि पेसालाई मर्यादित, सम्मानजनक बनाउन पहल र प्रेरणा गर्ने ? मिठा भाषण हैन, काम र सबल नेतृत्व चाहियो सरकार । मन्त्री मन्त्रालयमा गएर फाइलमा सदर लेख्नमात्र गएका हुन् त ? दैनिक प्रशासन चलाउन मन्त्रालयमा सचिव हुन्छन् । मन्त्री ठोस निर्णय गर्ने, परिवर्तन र अग्रगामी नीति ल्याउन भूमिका खेल्ने व्यक्ति हैन र ? अधिकार केन्द्रीकृत गर्ने नै हो भने किन संघीयता चाहियो ? स्थानीय, प्रदेशलाई अधिकार दिन किन कञ्जुस्याइँ ? प्रधानमन्त्रीज्यू, मन्त्री र कर्मचारीले कमिसन लिनमात्रै छाडे आयोजना गुणस्तरीय हुनेछन्, समयमा सकिनेछन् । कर्मचारी, प्रहरी, प्रशासनलाई सकारात्मक उत्प्रेरणाका योजना चाहिन्छ । तपाईंलाई सब कुराको ज्ञान छ, तर तिनलाई व्यवहारमा लागु गर्न सक्नुहुन्न भने कसरी सफल बन्नुहुन्छ ?

[email protected]

Page 8
समाचार

दसैंका ग्राहकलाई सस्तो बजार

- करिश्मा चौधरी

 (बाँके) - यहाँका उपभोक्ताको रुपैडिहा–मोह रोक्न उपभोक्ता जागरणका लागि नेपालगन्जमा दसंै सस्तो बजार सुरु भएको छ । नेपाली बजारमै सस्तो र गुणस्तरीय उपभोग्य सामान पाइन्छ भन्ने सन्देश फैलाउने उद्देश्यले दसंै सस्तो बजार सुरु गरिएको आयोजक नेपालगन्ज वितरक संघले जनाएको छ ।


उपभोक्ता जागरणलाई मुख्य उद्देश्य मानेर दसंै सस्तो बजार आयोजना गरिएको नेपालगन्ज वितरक संघका अध्यक्ष अमितकुमार बस्नेतले बताए । ‘नेपालमै पनि रुपैडिहाको बजारभन्दा सस्तोमा पाइने सामान छन्,’ अध्यक्ष बस्नेतले भने, ‘तर, हामीले उपभोक्तालाई भन्न सकेका छैनौं ।’ सामान बेच्नेभन्दा पनि उपभोक्तालाई जनचेतना दिन सस्तो बजार आयोजना गरिएको नेपालगन्ज वितरक संघले जनाएको छ ।


दसंै सस्तो बजारमा स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित खाद्य, किराना तथा कस्मेटिक्स सामान राखिएको छ । सस्तो बजारमा सामान हेरेर ५ देखि २० प्रतिशतसम्म छुटमा सामान किन्न सकिने नेपालगन्ज वितरक संघका अध्यक्ष बस्नेतले बताए । बहुराष्ट्रिय कम्पनीबाट उत्पादित साबुन, सर्फ, कस्मेटिक्स सामान तथा डाबरका विभिन्न उत्पादन भारतीयभन्दा नेपाली बजारमा सस्तो पाइन्छन् । ‘उपभोक्तालाई नेपाली बजारमै सस्तो सामान पाइन्छ भन्ने जानकारी गराउन दसंै सस्तो बजारको आयोजना गरिएको हो,’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने, ‘सीमापारि भन्दा सीमावारि सामान सस्तो छ । गुणस्तरीय छ । तर, उपभोक्तामा जनचेतना पुर्‍याउन सकिएको छैन ।’


एक/दुई सामान सीमापारि सस्तो पाइयो भनेर सधंै त्यतै जाने प्रवृत्तिले नेपालगन्जको बजार धराशायी बन्दै गएको अध्यक्ष वैश्यले बताए । कमाइ बाँकेमा गर्ने तर खर्च किन अरूको देशमा गर्ने ?’ उनले भने, ‘आफ्नो देशको अर्थतन्त्र बलियो बनाउन पनि उपभोक्ताले नेपाली बजारमा सामान खरिद गर्नुपर्छ ।’


घटस्थापनाका दिनदेखि सुरु भएको दसंै सस्तो बजार असोज ३० गतेसम्म चल्नेछ । सस्तो बजारमा १४ हजारले अवलोकन गर्ने र ५ हजारले किनमेल गर्ने अपेक्षा नेपालगन्ज वितरक संघले लिएको छ । पहिलो दिन १ हजार ५ सय जनाले किनमेल गरेको वितरक संघको जनाएको छ ।

Page 9
समाचार

सिफारिस दस्तुर २४ गुणासम्म

स्थानीय तह
ढुंगा छापेको सडक फोडा ८ सय रुपैयाँ धरौटी राखे पुग्नेमा ५ हजार रुपैयाँ पुर्‍याइएको छ
- माधव अर्याल

 (पाल्पा)- तानसेन नगरपालिकाले सिफारिस दस्तुरमा २४ गुणासम्म कर वृद्धि गरेको छ । व्यवसायमूलक शीर्षकमा करको दर परिवर्तन नगरे पनि ५५ वटा सिफारिस दस्तुरमा भने अत्यधिक कर बढाएको सर्वसाधारणको गुनासो छ । स्थानीय सरकार भन्छ– कर बढेको छैन । करको दायरा बढेको हो । तर, गत वर्ष संस्था नवीकरण सिफारिस गर्दा नगरपालिकाले २ सय १० रुपैयाँ लिएको थियो । यस वर्ष ५ हजार १० रुपैयाँ लिएको छ ।


‘२ हजार ४ सय प्रतिशतसम्मले बढेको छ,’ सामुदायिक रेडियो मदनपोखराका लेखा प्रमुख छवि भट्टराईले भने । उनले सामुदायिक बहुसञ्चार केन्द्र, तानसेन नगरपालिका ८ को रेडियोको संस्था नवीकरण गर्न जाँदा कर तिर्दा अचम्म परेको बताए । ‘अघिल्लो वर्ष र अहिलेको रसिद नै फेसबुक वालमा राखेको छु,’ उनले भने, ‘कर वृद्धि भएको छैन भन्ने स्थानीय तहको अवस्था यस्तो छ ।’ तानसेन नगरपालिकाले भने करमा वृद्धि नभएको दाबी गरेको छ । तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले पत्रकार सम्मेलन र विभिन्न कार्यक्रममा कर वृद्धि नभई करको दायरा बढाएको बताउँदै आएका छन् । नगरपालिकाका जनप्रतिनिधि पनि करको दायरा बढेको तर कर नबढेको भाषण गर्दै हिँडेका छन् ।


‘सिफारिसको दरमा केही शीर्षकमा मात्रै बढेको हो,’ मेयर शाहीले भने, ‘अन्य सबै अघिल्लो वर्षको यथावत् छ ।’ तर, कर तिर्न नगरपालिका पुग्ने सेवाग्राही भने अचम्मित पर्ने गरेका छन् । सिफारिसमा समेत दोब्बर/तेब्बर मात्र नभई अत्यधिक बढेको सेवाग्राहीको गुनासो छ । अधिकांशले आर्थिक ऐन माग गर्ने गरेका छन् । तर, प्रमुुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीले ऐन हेर्न नदिएको सेवाग्राहीको गुनासो छ । अहिले ऐन छापिएर आइसकेकाले खरिद गरेर हेर्न सकिने मेयर शाहीले बताए । नगरपालिकाको वेबसाइटमा राखिएको अघिल्लो र यस वर्षको आर्थिक ऐन अध्ययनले १० देखि २ हजार ४ सय प्रतिशतसम्म कर वृद्धि गरेको देखिएको छ । स्थानीय सरकारले मनोमानी ढंगले कर वृद्धि गरेको मेयरका प्रत्याशी अजयमान कर्मचार्यले बताए । ‘पत्रकार र नागरिक समाजलाई आर्थिक ऐन अध्ययन गर्न आग्रह गर्छु,’ कर्माचार्यले भने । स्थानीय बासिन्दा चित्रवलीराम सुवालले ५० रुपैयाँको सिफारिस दस्तुरलाई यस वर्ष नगरपालिकाले ५ सय लिने गरेको गुनासो गरे ।


‘वडाबाट सिफारिस लिएर गयो अनि पुन: ५ सय नगरपालिकाले लिन्छ,’ उनले भने, ‘सर्वसाधारणको दैनिक काम गर्ने सेवामा दुई/तीन गुणा शुल्क वृद्धि गरेको छ ।’ अघिल्लो वर्ष बिटोरी इजाजत दस्तुर १ सय लिने गरेकामा यस वर्ष ५ सय रुपैयाँ पुगेको छ । संस्थागत धारा सिफारिसमा ५ सयबाट १ हजार रुपैयाँ पुर्‍याएको छ । तानसेन नगरपालिकाले घरजग्गा नामसारी सिफारिसको ७ सयबाट १ हजार रुपैयाँ बनाएको छ । अंशबन्डा सिफारिस ३ सयबाट ८ सय रुपैयाँ पुगेको छ । वैदेशिक प्रयोजन सिफारिस दस्तुर १ हजारबाट बढेर १ हजार ५ सय रुपैयाँ पुगेको छ । कुनै पनि संघसंस्था खोल्ने सिफारिस दस्तुर ७ सयबाट १ हजार रुपैयाँ पुर्‍याइएको छ । संघसंस्था नवीकरण सिफारिस ५ सयदेखि ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भने २ सयदेखि १ हजार रुपैयाँमात्रै थियो ।


कच्ची घर भत्काउने सिफारिस पनि १ सयबाट बढेर १ हजार रुपैयाँ पुगेको छ । पक्की घर भत्काउन भने ३ हजार रुपैयाँ लाग्ने बनाइएको छ । जन्मदर्ता सच्याउने सिफारिस लिँदा पनि ५ सयबाट १ हजार रुपैयाँ पुर्‍याइएको छ । बकसपत्र सिफारिस १ हजार ५ सयबाट २ हजार रुपैयाँ पुगेको छ । मोही सिफारिस १ हजारबाट १ हजार ५ सय रुपैयाँ पुगेको छ । व्यवसाय दर्ता अघिल्लो वर्ष २ सय थियो । यस वर्ष ६ सय रुपैयाँ पुगेको छ । विशेष सुविधा प्राप्त गर्ने सिफारिस ५ सयबाट १ हजार पुर्‍याइएको छ । अन्य सिफारिसको अघिल्लो वर्ष २ सय रुपैयाँ थियो । यस वर्ष भने ५ सय पुर्‍याएको छ । विद्यालयका लागि पनि पूर्वप्रावि मन्टेश्वरीको १ हजार ५ सयबाट २ हजार ५ सय रुपैयाँ बनाएको छ । आधारभूतको २ हजारबाट ४ हजार रुपैयाँ पुर्‍याइएको छ । माविको २ हजार ५ सयबाट ८ हजार रुपैयाँ बनाइएको छ ।


आफ्नै जग्गाको रूख स्वप्रयोजनका लागि कटान सिफारिस ५ सयबाट १ हजार रुपैयाँ पुर्‍याइएको छ । काठ कटान गरी बिक्री गर्ने प्रयोजनका लागि १ हजार ५ सयबाट २ हजार ५ सय पुर्‍याइएको छ । सडक फोडा इजाजत धरौटी पिच सडक र आरसीसीका लागि ५ हजारबाट १० हजार बनाइएको छ । यसको ५० प्रतिशत धरौटी नगरपालिकाले नै राख्ने गर्छ । ढुंगा छापेको सडक फोडा ८ सय रुपैयाँ धरौटी राखे पुग्नेमा ५ हजार रुपैयाँ पुर्‍याइएको छ । ५ लाख रुपैयाँभन्दा बढीको पुँजी लगानीमा उद्योग स्थापना गर्दा १ हजार तिरे पुग्नेमा अब २ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।


तानसेन नगरपालिकाले करको दायरा पनि फराकिलो बनाएको छ । अघिल्लो वर्ष झन्डै ३ सय प्रकारका करका शीर्षक थिए भने यस वर्ष ६ सय पुर्‍याइएको छ । नगरपालिकाले धूमपान, मादक पदार्थ, ग्यास, मट्टीतेललगायतका व्यवसायका शीर्षकमा भने करको दर बढाएको छैन ।


गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष भेषराज तिमिल्सेनाले स्थानीय गैरसरकारी संस्थालाई परिबन्दमा पारेर कर लिएको बताए । ‘नगरपालिका र गाउँपालिकाले बढी शुल्क लिएका छन्,’ उनले भने, ‘सिफारिस गर्दा ५ देखि ८ हजारसम्म लिएको रसिद आएको छ ।’ यही किसिमले कर लिने हो भने खुलेर काम गर्नेभन्दा संस्था बन्द गरेर हिँड्नुपर्ने अवस्था आउने उनले बताए । तानसेन नगरपालिकाका मेयर शाहीले भने, ‘मन नपरेको मान्छेको छाया नै बाङ्गो देखेको’ जस्तो भएको बताए । कुनैमा पनि कर नबढाएको बताउँदै ५५ वटा सिफारिस शीर्षकमा भने कर हेरफेर भएको उनले बताए । ‘हामीसँग राजपत्र छ । किनेर लगेर हेर्नुस् । कुन नियतले प्रचार भएको छ, थाहा भएन,’ उनले भने, ‘प्रचार गर्नेलाई नै थाहा होला ।’

समाचार

निकुञ्जको सरुवामा विभेद

कसैलाई डेढ वर्षमै सरूवा, कोही दशकदेखि एकै ठाउँ
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बर्दिया राष्ट्रिय निकुञ्जमा करिब ३ वर्ष सहायक संरक्षण अधिकृत रहेका बद्रीविनोद दाहाललाई राष्ट्रिय निकुञ्ज विभागले यसै साता मकालु वरुण राष्ट्रिय निकुञ्जमा सरुवा गरेको छ । कम आकर्षक मानिने दुर्गमको निकुञ्जमा दाहालको सरुवा भइरहँदा बर्दियामा उनकै हैसियतमा १० वर्ष काम गरेका अशोक भण्डारीको भने त्यहीँ थमौती भएको छ । स्रोतका अनुसार भण्डारी पनि सरुवा हुने सूचीमै थिए । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसम्मै राजनीतिक चलखेल भएपछि अन्तिममा उनको थमौती भएको हो ।


बर्दिया निकुञ्जको प्रमुखमा उपसचिवको दरबन्दी छ । भण्डारी उपसचिव होइनन् । गत असारमा निकुञ्जको प्रमुख रहेका उपसचिव मनोज साहको काज अवधि सकिएपछि भण्डारी नै निमित्त वार्डेन छन् । फागुनमा साह प्रमुख भएर जानुअघि पनि भण्डारीले नै निमित्त प्रमुख भएर काम गरेका थिए । लामो समय दुर्गममा बसेर बर्दिया आए पनि साहलाई काम गर्ने वातावरण सिर्जना भएन । उल्टै उनी मानसिक तनावले घर बिदा लिएर बसेका छन् ।


बर्दिया निकुञ्जमा निमित्त प्रमुखको अवसर पाउने भण्डारी एक्ला होइनन् । यसअघि पनि अधिकृत रमेश थापाले लामो समय निमित्त प्रमुख भएर निकुञ्ज चलाएका थिए । बर्दिया निकुञ्जमा लामो समयदेखि कर्मचारीमा एक किसिमको सिन्डिकेट खडा गरिएको छ । त्यही समूह जहिले पनि आफूअनुकूलको प्रमुखका लागि शक्ति केन्द्र धाउने गरेको मन्त्रालय स्रोतले जनायो । विभागका निमित्त महानिर्देशक गोपालप्रकाश भट्टराईले भने भण्डारीको आँखाको समस्या भएकाले उनलाई पहाड र हिमाली क्षेत्रमा नपठाइएको तर्क गरे । मन्त्री बस्नेतका स्वकीय सचिव मुक्ति बस्नेत भने सरुवामा मन्त्रीको कुनै हात नभएको बरु कसैलाई अन्याय नहुने गरी सरुवा गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिएको बताउँछन् ।


निकुञ्ज विभाग र अन्य निकुञ्जमा अनुभवी र प्रभावशाली उपसचिव दायित्वविहीन भएर बसे पनि उनीहरूलाई जिम्मेवारी दिन विभाग नेतृत्वले आनाकानी गर्ने गरेको छ । विभागले हचुवाका भरमा यसै साता २४ जना सहायक संरक्षण अधिकृतको सरुवा गरेको हो । झन्डै ५ वर्ष शुक्लाफाँटा निकुञ्जमा काम गरेका गोपालबहादुर घिमिरेलाई चितवन निकुञ्जको सहायक वार्डेनमा सरुवा गरिएको छ । उनले पनि पछिल्लो समय शुक्लाफाँटामा निमित्त प्रमुख भएर काम गरेका थिए । विभागमा रहेकी सरस्वती सापकोटालाई ढोरपाटन सिकार आरक्ष र बाँके निकुञ्जमा सहायक वार्डेन रहेका लालबहादुर भण्डारीलाई रारा निकुञ्जमा निमित्त प्रमुख बनाउने गरी सरुवा गरिएको छ ।


यस्तै, निकुञ्ज विभागमका विष्णु थपलिया र कृष्णसार संरक्षण क्षेत्र, बर्दियामा रहेका पुरुषोत्तम शर्मालाई बाँके निकुञ्जको सहायक वार्डेनमा सरुवा गरिएको छ । विभागमा सहायक इकोलोजिस्ट रहेका ऋषि रानाभाट, से–फोक्सुन्डोका प्रकाश उप्रेती र रारामा सहायक वार्डेन रहेका लोकेन्द्र अधिकारीलाई चितवनमा सरुवा गरिएको छ ।


चितवन निकुञ्जमा सहायक वार्डेन रहेका अभिनय पाठकलाई शुक्लाफाँटा र चितवनमै रहेका नुरेन्द्र अर्याललाई निकुञ्ज विभागमा सरुवा गरिएको छ । शिवपुरी नागार्जुन निकुञ्जमा रहेका राजु घिमिरेलाई अपिनाम्पा, सगरमाथा निकुञ्जका मानबहादुर खडका र कञ्चनजंघाका हेम आचार्यलाई विभाग, लाङटाङका सूर्य खडकालाई पर्सा र मकालुका सञ्जीव गुप्तालाई बर्दिया सरुवा गरिएको छ ।


ढोरपाटनका पशुपति अधिकारीलाई शिवपुरी, विभागका केदारनाथ कट्टेललाई सगरमाथा, शिवपुरीका बाबुराम भट्टराईलाई से–फोक्सुन्डो, पर्साका वीरेन्द्र कँडेललाई शिवपुरीमा सरुवा गरिएको छ । बाँके निकुञ्जका रवीन चौधरी थारूलाई सगरमाथा र बाँकेकै प्रमोद यादवलाई से–फोक्सुन्डो, अपिनाम्पाका पेम्बा शेर्पालाई शिवपुरी तथा शिवपुरीका अर्जुन भुसाललाई कृष्णसार संरक्षण क्षेत्र आयोजना, बर्दिया सरुवा गरिएको छ ।

समाचार

काम थोरै, भुक्तानी धेरै

- विमल खतिवडा
पप्पु कन्स्ट्रक्सनले बनाएको केही समयमै भासिएको बर्दियाको बबई पुल । तस्बिर : कान्तिपुर

 (काठमाडौं)- देशभर निर्माणाधीन पक्की पुलमध्ये सबैभन्दा धेरै पप्पु कन्स्ट्रक्सनको ठेक्कामा छन् । तर ती सबैको काम सुस्त छ । काठमाडौंभित्रका कतिपय सडकसमेत भत्काएर अलपत्र छाडेको पप्पुको हातमा एकल र संयुक्त गरी ३५ वटा पुलको ठेक्का छ ।


कतै विवादका कारण कामै थालिएको छैन त थालिएका काम पनि अलपत्र छन् । सडक विभागअन्तर्गत पुल महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार पप्पुले पाएका पुलको कुल ठेक्का रकम ८ अर्ब ८७ करोड ५५ लाख हो । हुलाकी राजमार्गमा समेत यही कन्स्ट्रक्सनको कब्जा छ ।


१ अर्ब ५२ करोड ५५ लाख रुपैयाँमा ठेक्का दिइएका १३ वटा पुलको सम्झौता अवधि सकिइसकेको छ । निर्माण सम्पन्न हुन बाँकी नै रहेका यी पुलका लागि सरकारले पप्पुलाई ७७ करोड ७८ लाख भुक्तानी दिइसकेको छ । पुल कति बन्यो, किन ढिलाइ भयो भन्नेबारे अनुगमन गरिएको छैन । वर्षौंदेखि पुल बन्ने प्रतीक्षामा रहेका स्थानीय निर्माण कार्य अलपत्र हुँदा निराश छन् । पप्पुले एकल र संयुक्त गरी स्थानीय सडक पुल २८ र रणनैतिक सडक (राजमार्ग) का ७ वटा पुल ठेक्का लिएको हो ।


पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाका अनुसार म्याद थप सम्बन्धित योजना प्रमुखले नै गर्छन् । ‘म्याद थप्ने/नथप्ने सम्बन्धित योजना/आयोजना प्रमुखहरूबाटै हुन्छ, फाइल मात्र यहाँ आउँछ,’ उनले भने, ‘निर्माणको ठेक्का लिएर पनि काम भएको छैन, एक/दुई ठाउँमा टेक्निकल कारणले समस्या छ ।’ उनका अनुसार ‘मोबिलाइजेसन’ रकम पहिला नै दिने गरिन्छ । ‘कतिपय ठेक्कामा १५ प्रतिशतसम्म मोबिलाइजेसन रकम बुझेका छन्, यो बैंक ग्यारेन्टी राखेर बुझ्न पाइन्छ,’ उनले भने, ‘रकम बुझे पनि काम भने गरेका छैनन् ।’ सबभन्दा बढी ठेक्का पप्पुकै भएको र अलपत्र पार्नेमा पनि यही कम्पनी अगाडि रहेको थापाले बताए ।


उदयपुरको बेलका नगरपालिकास्थित गिदेरी खोलामा पुल निर्माण थालिएको ४ वर्ष बित्यो । पप्पु र मृतसञ्जीवनी कन्स्ट्रक्सनले संयुक्त रूपमा २०७१ असार ३१ मा यसको ठेक्का लिएका हुन् । काम ४५ प्रतिशत मात्र भएको छ । ०७४ असार ३० मा सम्झौता अवधि सकिएपछि एक वर्ष थपिएको थियो । थपिएको अवधिमा पनि खासै प्रगति भने देखिएन ।
डिभिजन सडक कार्यालय लहानका अनुसार पुलको फाउन्डेसनको काम सकिएको छ । ‘यहाँको पुल निर्माणमा मात्र ढिलाइ भएको होइन,’ डिभिजन प्रमुख रामकुमार देवले भने, ‘देशभरिका अधिकांश पुलको निर्माण अवधि सकिएको छ, विभागबाट के परिपत्र आउँछ, त्यहीअनुसार कारबाही प्रक्रिया सुरु हुनेछ ।’


अहिलेसम्म भएका काम पनि मृत सञ्जीवनीले मात्र गरेको, पप्पु कन्स्ट्रक्सनबाट कोही देखा नपरेको देवले बताए । उनका अनुसार ठेक्का सम्झौतामा कसले कति दायित्व बहन गर्ने भन्ने उल्लेख रहेकाले दुवै कारबाहीको भागीदार हुनेछन् । यो पुलको ठेक्का रकम १५ करोड १३ लाख ८२ हजार रुपैयाँ हो । २ करोड १७ लाख २३ हजार भुक्तानी भइसकेको छ ।
उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १९ गते पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण रौनियार र हालका अध्यक्ष उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनीहरूमाथि बर्दिया र गुलरिया जोड्ने जब्दीघाटको बबई पुल गुणस्तरहीन बनाएको आरोप छ । रौनियारले यो पुलको पनि १९ करोड ४० लाख रकम बुझिसकेका छन् ।

समाचार

बल्झियो सीमा विवाद

- हरि गौतम

 (रुकुमपूर्व)- स्थानीय तह सक्रिय भएपछि दुई स्थानीय तहबीच सीमा विवाद बल्झिएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका र रुकुम पश्चिमको मुसिकोट नगरपालिकाबीच विवाद बढेको हो । साबिकको रुकुमबाट रुकुम पूर्व र पश्चिम छुट्टै जिल्ला भएको एक वर्ष नपुग्दै दुई स्थानीय तहबीच पुरानो सीमा विवाद बल्झिएको हो ।


दुवै तहले एकअर्कालाई सीमा मिचेको आरोप लगाइरहेका छन् । सिस्ने गाउँपालिका ६ र मुसिकोट नगरपालिका ८ मा पर्ने उक्त सीमा एक अर्कोले एकदेखि डेढ सय मिटरसम्म मिचेको दाबी गरेका छन् । केही समयअघि दुवै स्थानीय तहले एकअर्काले राखेको सीमा आरम्भ र सीमा समाप्त लेखिएको होर्डिङ बोर्डसमेत फालाफाल गरेका थिए । सिस्ने गाउँपालिकाले राखेको रुकुम पूर्व सिस्ने गाउँपालिका सीमा आरम्भ लेखिएको बोर्ड मुसिकोट नगरपालिकाले हटाइदिएको थियो भने मुसिकोट नगरपालिका रुकुम पश्चिमको सीमा समाप्त लेखिएको बोर्ड सिस्ने गाउँपालिकाले हटाइदिएको थियो । सिस्ने गाउँपालिकाले होर्डिङ बोर्ड राखेपछि छलफलको प्रयास भएको थियो तर सफल हुन सकेन । मुसिकोट नगरपालिका ८, वडा कार्यालयले छलफल गरेर पनि सिस्ने गाउँपालिका प्रतिनिधि नआएपछि छलफल हुन नसकेको मुसिकोट ८ का अध्यक्ष बुद्धिप्रसाद बुढाले बताए ।


विवाद समाधान प्रयासस्वरूप छलफल भएको छ । सिस्ने गाउँपालिका रुकुमकोटमा मुसिकोट नगरपालिका र सिस्ने गाउँपालिकाबीच छलफल भएको हो । छलफलबाट विवाद टुंग्याउन नसके पनि समाधानका लागि भन्दै दुवैतर्फबाट ३/३ सदस्य रहने गरी कार्यदल गठन गरिएको छ । मुसिकोट नगरपालिका प्रमुख देवीलाल गौतम, सिस्नेका अध्यक्ष कुमारी बराल, मुसिकोट नगरपालिका ८ का अध्यक्ष बुद्धिप्रसाद बुढा र सिस्ने ६ का अध्यक्ष सुदन रेग्मी सदस्य रहेको कार्यदल बनाइएको छ । दुवै जिल्लाबाट एक/एक जना गरी अरू २ सदस्यमा राख्ने सहमति भएको सिस्ने गाउँपालिका अध्यक्ष बरालले बताइन् । उनले विवाद देखिएको जग्गालाई आधाआधा पार्ने गरी सीमा कायम गर्नेतर्फ छलफल केन्द्रित भएको बताइन् । पञ्चायतकालपूर्वकै सीमा विवाद हल गर्न खोजिएको भनाइ अध्यक्ष बरालको छ । ‘यो विवाद पुरानै हो, स्थानीय तहको निर्वाचन भइसकेपछि मिलाउन मात्रै खोजिएको छ,’ अध्यक्ष बरालले भनिन्, ‘यसमा नयाँ विवाद आएको होइन ।’


जिसस प्रमुख गजेन्द्रबहादुर ओली, उपप्रमुख भीमकुमारी पुनको रोहबरमा भएको दुई स्थानीय तहको छलफलले विवादित जमिनको नापी/नक्सा हेर्ने र त्यसैअनुसार नयाँ सीमा कायम गर्ने सहमति गरेको मुसिकोट नगरपालिका प्रमुख गौतमले बताए । ‘नापी नक्सा हेर्ने, विवादमा परेको जमिनको बीच सेन्टरबाट आधाआधा पर्ने गरी विवाद हल गर्नेतर्फ छलफल भएको छ, विवाद समाधान गर्ने गरी दसैंपछि र तिहारअघि फेरि एकपटक छलफल हुन्छ,’ नगर प्रमुख गौतमले भने । उनले पूर्वको भाग पाल्पा र पश्चिमको सल्यान जिल्लामा हुँदाकै विवाद रहेको पाइएको बताए ।

Page 10
समाचार

लागूऔषध निषेध

- कान्तिपुर संवाददाता

बर्दिया (कास)– ६३ औं प्रहरी दिवसका अवसरमा जिल्लालाई पूर्णरूपमा लागूऔषध निषेध जिल्ला घोषणा गरिएको छ । प्रहरी कार्यालय हातामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रजिअ रामबहादुर कुरुम्बाङले बर्दियामा लागूऔषध सेवन र ओसारपसारमा बन्देज लगाइएकाले निषेधित क्षेत्र घोषणा गरेको बताए ।

 

समाचार

प्रधानमन्त्रीको मन स्याउबारीमा

- कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी ओली बिहीबार मनाङको मनाङ ङिस्याङ गाउँपालिका १, भ्राताङस्थित एग्रो मनाङ प्रालिको स्याउ बगैंचामा ।
तस्बिर : कान्तिपुर 

(लमजुङ)- एउटामात्रै संसदीय क्षेत्र रहेको हिमालपारिको जिल्ला मनाङबाट विगतमा कांग्रेसले जित्दै आएको थियो । तत्कालीन एमालेले मनाङमा पहिलोपटक संघीय संसद्मा आफ्नो उपस्थिति जनाएलगतै प्रधानमन्त्री (तत्कालीन एमाले अध्यक्ष) केपी ओलीले मनाङ जाने इच्छा व्यक्त गरेका थिए ।


हेलिकप्टरबाट बिहीबार मनाङ पुगेका प्रधानमन्त्री ओली निकैबेर स्याउबारीमा डुले । फलाउने तरिका र प्रजातिका विषयमा रुचिपूर्वक जानकारी लिए । एग्रो मनाङ प्रालिको स्याउ फार्ममा संस्थापक एवं मनाङबाट निर्वाचित संघीय सांसद पोल्देन छोपाङ गुरुङले स्याउ खेतीबारे भन्दै गए, ओली सुन्दै गए । सांसद गुरुङले काठमाडौंको ठमेलस्थित चल्ती होटल बेचेर स्याउमा लगानी गरेको बताउँदा ओली झस्किए । भने, ‘कृषि क्रान्तिका लागि गाउँ फर्किनुभएकोमा धन्यवाद ।’ सांसद गुरुङ सम्भवत: नेपालमा विदेशबाट पहिलोपटक हाइब्रिड (वर्णशंकर) जातका स्याउ भित्र्याउने व्यक्ति हुन् । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु रिमाल, देवप्रसाद गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कृषि तथा सहकारीमन्त्री चक्रपाणि खनालसहित पुगेका थिए । उनले फार्म हेर्दै भने, ‘मेरो मन स्याउले तान्यो । स्याउ देखेर म छक्क परें । यस्तो होला भनेर कल्पना पनि गरेको थिएनँ ।’ उनले आफैंले स्याउ छुँदै सुम्सुम्याए ।


मनाङको मनाङ ङिस्याङ गाउँपालिका १, भ्राताङस्थित एग्रो मनाङ प्रालिले सुरु गरेको स्याउ खेती तथा स्याउ प्रशोधन केन्द्रको उद्घाटन गर्न प्रधानमन्त्री ओली पुगेका हुन् । उनले सबै नेपालीले समृद्धिको सपना देख्नुपर्ने र आफ्नो ठाउँबाट यसको सुरुवात गर्नुपर्ने बताए । ‘दुर्गमका माटोमा गरिएको कृषि, यसले निम्त्याउने पर्यटक, रोजगारी र स्वदेशी स्याउ उत्पादनले आर्थिक समृद्धिसँग जोड्छ,’ उनले भने, ‘कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न सकिए समृद्धि खोज्न टाढा जानुपर्दैन ।’ सरकारले स्याउ खेती विकासका लागि आगामी वर्ष १ लाख बिरुवा विदेशबाट झिकाउने र मनाङ, मुस्ताङ, कालिकोट र जुम्लामा वितरण गरिने बताए ।


एग्रो मनाङ प्रालिले ४ वर्षअघि स्थापना गरेको स्याउ बगैंचा ७ सय ३५ रोपनीमा फैलिएको छ । संस्थाका अध्यक्ष समराज गुरुङले स्याउ टिप्ने कार्य धमाधम भइरहेको बताए । उनका अनुसार स्याउलाई काठमाडौं, पोखरालगायत ठूला सहर पठाउन थालिएको छ । बगैंचामा फलेका गाला र गोल्डेन जातको स्याउ टिप्ने कार्य भइरहेको र फुजी जातको स्याउ पूरै नपाकेकाले केही सातापछि मात्रै टिपिने उनले बताए । उनका अनुसार बगैंचामा इटाली र सर्भियाबाट हाइब्रिड जातका बेर्ना ल्याएर रोपिएको थियो । गत वर्ष ३ सय टन स्याउ उत्पादन भएको बगैंचामा यो वर्ष करिब ५ सय टन उत्पादन हुने प्रक्षेपण गरिएको छ । एग्रो मनाङका प्रबन्ध निर्देशक युवराज गुरुङले फार्ममा कार्यरत सबै कर्मचारी स्याउ टिप्न व्यस्त भएको बताए । स्याउलाई बजारसम्म पुर्‍याउने गरिएको उनले बताए । स्याउ छिप्पेपछि यसको ‘ग्रेड’ छुट्याएर फार्ममा रहेको कोल्ड स्टोरमा राखिएको र बजारको आवश्यकताअनुसार पुर्‍याइएको बताए ।

समाचार

किशोरीमाथि सामूहिक बलात्कार

- कान्तिपुर संवाददाता

बुटवल (कास)– बुटवल उपमहानगरपालिका नजिकै जंगलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी देवदहकी १६ वर्षीयामाथि चिनेकै समूहले गत मंगलबार जबरजस्ती करणी गरेको जनाएको हो । प्रहरीले बलात्कारमा ४ जना संलग्न रहेको जनाएको छ ।


चिनेकै युवकले घुम्न जाने भन्दै बुटवल बोलाएर साँझ फर्किने बेलामा शिवनगर जंगलमा लगेर जबरजस्ती गरेको युवतीले बताएकी छन् । सुरुमा एक युवकले लगेर गए पनि पछि तीनजना आएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनायो । इलाका प्रहरीले बलात्कार आरोपमा देवदह १० का उदय थापा र बुटवल ७ का कृष्ण थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो । उदय काठको काम गर्छन् । कृष्ण गाडी स्टाफ हुन् । दुवैले बलात्कार स्वीकार गरेको र अन्य २ आरोपीको खोजी भइरहेको प्रहरी उपरीक्षक हृदय थापाले बताए ।


प्रहरीले घटनास्थलबाट ४ थान कन्डम र फुटेका चुरा बरामद गरेको जनाएको छ । किशोरी ज्यामी काम गर्थिन् । ज्यामी कामकै क्रममा चिनजान भएका युवकले मेला घुम्न ल्याएको र फर्कने बेलामा मोटरसाइकलमा जंगल पुर्‍याएर बलात्कार गरेको आरोप छ । किशोरीले आफंै वडा प्रहरी कार्यालय पुगेर उजुरी गरेकी थिइन् । त्यसका आधारमा प्रहरीले घटनास्थल अध्ययन र अनुसन्धान गरेको प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए ।

समाचार

कार्यक्रममा २ मन्त्री

- कान्तिपुर संवाददाता

स्याङ्जा (कास)– यहाँका तीन स्थानीय तहमा निर्माण गरिएका मोटरेबल पुल र निर्माण सुरु गरिएको पुलको दुई मन्त्रीले बिहीबार संयुक्त रूपमा उद्घाटन र शिलान्यास गरेका छन् । एउटै मञ्च र एउटै कार्यक्रमका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल स्याङ्जा आएका हुन् । अर्जुनचौपारी गाउँपालिकाअन्तर्गत १ र २ नम्बरका वडा जोड्ने दरौं खोलाको मोटरेबल पुल, १ र ३ वडालाई जोड्ने सोही खोलाको अर्को मोटरेबल पुलको उद्घाटन, भगवती सहकारी संस्थाको उद्घाटन र गाउँपालिकाअन्तर्गत चक्रपथ निर्माणको शिलान्यास उनीहरूले गरे ।

 

Page 11
समाचार

४ जनाको मृत्यु घटना: फेरि थालियो अनुसन्धान

- कान्तिपुर संवाददाता

विराटनगर (कास)– मोरङको कानेपोखरी ३, हरकपुरमा वर्षदिनअघि घरसहित जलेर परिवारका ४ जनाको मृत्यु घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको छ ।
ब्युरोका प्रहरी निरीक्षक पञ्चकुमार पाखुको नेतृत्वमा आएको टोलीले घटनास्थलको निरीक्षण गरी आफन्त र छिमेकीसँग सोधपुछ गरेको छ । स्थानीय प्रहरीले हालसम्म गरेको अनुसन्धानको स्थितिसमेत बुझेर फर्किएको छ । २०७४ असोज ४ राति २ बजेको घटनामा ८६ वर्षीया गंगामाया राई, उनका ५६ वर्षीय छोरा चन्द्रकुमार, ४९ वर्षीया छोरी पार्वता तामाङ र ४६ वर्षीया बहिनी विष्णुकुमारीको ज्यान गएको थियो । घटनाको वास्तविकता प्रहरीले हालसम्म बाहिर ल्याउन सकेको छैन ।


घटनाको प्रदेश १ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले सूक्ष्म अनुसन्धान गरिरहेको डीआईजी केदार रिजालले बताए । उनका अनुसार प्रहरीको प्राविधिक टोलीले पनि घटनास्थलको अनुसन्धान गरिरहेको छ । केही शंकास्पद व्यक्ति र प्रमाण जुटाउने काम भइहेको उनको भनाइ छ । दुईतले घरको चारैतर्फबाट एकसाथ आगो दन्किनु र चारैजनाको मृत्यु हुनु रहस्यमय भएको आफन्त र स्थानीयको भनाइ छ । पथरी प्रहरी चौकी निरीक्षक कमल बजगाईंका अनुसार घटनासँग सम्बन्धित कसैलाई नियन्त्रणमा नलिए पनि अनुसन्धान जारी छ । उनका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोले पनि स्थानीय प्रहरीसँग समन्वय गरी अनुसन्धान गरिरहेको छ ।


मृतकका आफन्तले शंका गरेका आफन्त कानेपोखरी ४ का रामबहादुर तामाङ बेलबोटेलाई त्यसैबेला नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको थियो । उनी मृतक पार्वताका पति हुन् । पथरीका तत्कालीन प्रहरी निरीक्षक राजन कार्की सरुवा भएपछि अनुसन्धान फितलो भएको परिवारको गुनासो छ । आफन्तले नियोजित रूपले चारैजनाको हत्या गरी घरमा आगो लगाएको हुन सक्ने आशंका गरेका छन् ।


आगलागीमा घरसँगै किराना पसल, गोठ, मिनी ट्याक्टर, मोटरसाइकल, साइकल, पम्पिङसेट मेसिनलगायत सुनचाँदीलगायत धनमाल जलेर नष्ट भएको थियो । करिब १ करोड ५० लाख बराबरको क्षति भएको थियो । घटनाबारे पीडितका तर्फबाट इलाका प्रहरी पथरीमा जाहेरी दिइएको थियो । गम्भीर रूपले अनुसन्धान हुन नसक्दा वास्तविकता पत्ता लाग्न नसकेको पीडित परिवारको भनाइ छ । मृतकमध्ये चन्द्रकुमारको शव रहेको स्थानमा खोस्रने क्रममा भुइँमा रगत जमेको टाटा भेटिएको थियो । इलाका प्रहरीको टोलीले उक्त रगतको टाटाको फोटो खिचेर लगेको मृतक गंगामायाकी छोरी इन्दिरा राईले बताइन् । घटना भवितव्य नभई नियोजित षड्यन्त्र भएको आफन्तले बताउँदै आएका छन् । घटनाको सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न उनीहरूले माग गरेका छन् ।

Page 12
कला र शैली

भोजपत्रमा चण्डी

- सुनीता साखकर्मी
राष्ट्रिय अभिलेखालयमा शुक्रबारसम्म चल्ने फोटो प्रदर्शनीमा राखिएका ऐतिहासिक कागजात ।

(काठमाडौं) - ‘ममी, यसमा के लेखेको पढेर सुनाउनुस् न,’ भोजपत्रमा लेखिएको सूक्ष्माक्षरको ‘चण्डी’ तिर देखाउँदै आठवर्षे एनिज अभ्युदयले सोधेपछि आमा श्वेता अकमकिइन् । निकैबेर घोरिएर हेरेपछि उनले जवाफ दिइन्, ‘यो कुन लिपिमा लेखिएको नै थाहा भएन, पढ्नै गाह्रो भो ।’
श्वेता मात्रै होइन, राष्ट्रिय अभिलेखालयको पाँच नम्बरको कोठामा जारी फोटो प्रदर्शनीमा भेटिएका अधिकांश यस्तै अन्योलमा परे । अभिलेखालयमा पुराना अभिलेखका अंशहरूको फोटोहरू प्रदर्शनीमा राखिएको छ । पेसाले अधिवक्ता श्वेता आफ्नो कक्षा २ मा पढ्ने छोरा लिएर आएकी थिइन् । ‘कुनै नेपालीजस्तो, कुनै संस्कृत जस्तो, कुनै त बुझदै नबुझिने,’ श्वेताले भनिन्, ‘यसमा केही महत्त्वपूर्ण कुरा लेखिएको होला तर पढ्नै आएन ।’ देशको इतिहास यिनीहरूमै लेखिएको हुनसक्ने उल्लेख गर्दै उनले यो लिपि पढ्न नआउनु विडम्बना भएको सुनाइन् ।


बीचबाट सुरु गरी गोलाकार रूपमा लेखिएको चण्डीको अक्षर यति सूक्ष्म थियो कि, यो पढ्न जो कोहीलाई गाह्रो हुन्थ्यो । यसमा लेखिएको लिपि पनि कुन हो भन्ने खुलेको थिएन । पढ्न नआए पनि ती फोटाहरूमुनि लेखिएको जानकारी श्वेताले छोरालाई सुनाउँदै गइन् । प्रदर्शनीमा राखिएका लिपिहरू अहिले प्रचलनमा नभएको कारण पनि यो समस्या आएको श्वेतालाई लाग्छ । आफूलाई पढ्न नआएपछि यसमा के लेखिएको रहेछ भनेर अन्य भाषाविद् एवं संस्कृतिविद्मा भर पर्नुपर्ने उनले बताइन् ।


‘आफैंले पढ्न जानेको भए अरूको भर पर्नै पर्दैनथ्यो,’ श्वेताले भनिन्, ‘अरूले व्याख्या गर्दा ऐतिहासिक, धार्मिक कुराहरूलाई अपव्याख्या पनि गरेको हुनसक्छ । आफैंले पढ्दा जति बुझिन्थ्यो, अरूको भर पर्दा अरूको अनुसार हामी चल्छौं ।’ पुराना लिपिहरू जान्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘लिपि जान्दैमा नराम्रो हुन्न ।’


तिलगंगाका रोशन पासवान पनि प्रदर्शनीमा भेटिए । सूचना प्रविधि विज्ञानतर्फ स्नातक तहमा अध्ययन गरिरहेका उनलाई अभिलेखमा लेखिएको फन्टले आकर्षित गर्‍यो ।
‘पहिले अ पनि अर्कै तरिकाले लेखिँदो रैछ,’ उनले भने, ‘पहिलेको टाइपिङ र फन्टहरू कस्तो भिन्नै रैछन् ! अहिलेकोमा यस्तो छैन ।’


राष्ट्रिय अभिलेखालयमा प्राप्त कागजमा लेखिएको ग्रन्थमध्ये सबैभन्दा पुरानो काश्मीरतिर प्रचलनमा रहेको शारदा लिपिमा लिपिकृत बौद्ध ग्रन्थ ‘कारण्डव्यूह’ देखि पशुपति तिलगंगास्थित संवत् ३८९ को लिच्छवि अभिलेख छापको उतार, राजा मानदेवले आफ्नी आमा राज्यवतीको नाममा राख्न लगाएको वामन मूर्तिको पादपीठमा रहेको अभिलेखका पनि अंशहरू प्रदर्शनीमा राखिएका छन् ।


पूर्वीय दर्शन बढी तन्त्र, मन्त्रहरूमा पनि केन्द्रित छ । नेपालमा पनि यसलाई निकै महत्त्व दिइथ्यो । पहिलेको समयमा यस्ता तन्त्र–मन्त्रमा झनै विश्वास भएको प्रदर्शनीमा राखिएका तन्त्र–मन्त्रसम्बन्धी पुस्तकहरूले पुष्टि गर्छन् । काला मन्त्रहरूबाट बच्नका लागि साँचो खोल्ने ग्रन्थको अंश राखिएको छ । यहाँ राखिएको धारणी संग्रहअन्तर्गतको एक धारणी ‘रत्नकेतुधारणीनाममहायानसूत्र’, जसको पाठ गर्नाले विघ्न बाधा हट्ने र सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ । नवौं शताब्दीमा उत्तरलिच्छवि लिपिमा लेखिएको शैव तन्त्र विद्याको ग्रन्थ ‘निरवासतत्त्वसंहिता’, नेपाल संवत् ७९५ मा तन्त्र विषयक ग्रन्थ ‘तारोभक्तिसुधार्णव’, शैवतन्त्रको प्रसिद्ध ग्रन्थ ‘कालोत्तरतन्त्र’, तन्त्र विषयक ग्रन्थ ‘निर्देशतन्त्र’, बौद्ध तन्त्र विषयको ताडपत्र ग्रन्थ ‘चक्रसंवरतन्त्र’ र ‘चतुष्पीठतन्त्र’ का अंशहरू पनि प्रदर्शनीमा राखिएका छन् । पञ्चाक्षर सूत्रमध्येको एक ‘महासहस्रप्रमर्दननामसूत्र’ ग्रन्थ पनि प्रदर्शनीमा छन् ।


त्यस्तै चिकित्सा र आयुर्वेदसम्बन्धी पुस्तकहरू पनि छन् । ने.सं २८ अर्थात् ई. सं ९०८ मा लेखिएको आयुर्वेद विधाको प्राचीन ग्रन्थ ‘लङकावतार’ मा क्रियाविधि, घृतविधि, प्राणविधि आदि आयुर्वेदीय पद्धतिहरू उल्लेख गरिएका छन् । त्यस्तै नेपाल संवत् ८३८ को योग विषयको ग्रन्थ ‘सिद्धान्त पद्धति’ को गाताचित्र पनि देख्न सकिन्छ ।


प्रदर्शनीमा रञ्जना लिपि, उत्तर लिच्छवि लिपि, बंगाली लिपि, गिल्गिट लिपि, पाली भाषामा लेखिएको, मैथिली लिपि, हरिताल लेपित थ्यासफु, ब्राम्ही लिपिमा लेखिएका अभिलेखहरू तथा प्राचीन पुस्तकहरू छन् । विश्वमै दुर्लभ हस्तलिखित ग्रन्थ ‘कृद्भाष्य’, बौद्ध ग्रन्थ ‘सद्धर्मपुण्डरिकसूत्र,’ संवत् १०७६ मा लेखिएको वाल्मीकि रामायण, सन् १३८० मा जयस्थिति मल्लको समयमा लेखिएको नेपालको पहिलो कानुनसम्बन्धी पुस्तक ‘न्यायविकासिनी’, १९ औं शताब्दीको अन्त्यतिर नेपाली भाषामा लेखिएको स्वस्थानी कथालगायत पनि छन् ।
राजा स्रोङचेन गोम्पो र भृकुटीका बारेमा वर्णन गरिएको ‘मिलाइ गुर्बुम, लेउधुन्मा माणिका बुम’, १८१४ पुसमा काठमाडौंका राजा जयप्रकाश मल्लले पृथ्वीनारायण शाहलाई भोटमा गोर्खा र काठमाडौंका वकिल राख्नेबारे लेखेको धर्मपत्र, २००७ फागुन ७ गते गठन भएको मन्त्रिमण्डलको सूची पनि प्रदर्शनीमा छन् । भोट सरकार ‘गान्देन फोडाङ’ को सय रुपैयाँको नोट, नेपाल–भोट युद्धको ऐतिहासिक सामग्री, १९५८ जेठ ३ गते छापिएको गोरखापत्रको प्रथम अंक, विसं १९१० को मुलुकी ऐन, २०३६ को जनमत संग्रहका बेला राष्ट्रिय चुनाव आयोगबाट लिएको मेची अञ्चलको मतदाता नामावली पनि प्रदर्शनीमा देख्न सकिन्छ ।


पुराना ग्रन्थहरू थप नबिगार्ने हेतुले प्रदर्शनीमा तिनका फोटाहरू मात्रै राखेको अभिलेखालयका प्रमुख अभिलेख अधिकृत निरन कुमार राजवंशीले बताए ।


‘यी पुस्तकहरू चाहिएमा हामी प्रतिलिपि दिन्छौं,’ उनले भने, ‘हामीकहाँ शैक्षिक तथा प्राज्ञिक क्षेत्रका मानिसहरू खोज अनुसन्धानका लागि आउनुहुन्छ । त्यसैले हामीकहाँ यस्ता पुस्तकहरू छन् भन्ने जनाउ दिन प्रदर्शनी गरेका हौं ।’
प्रदर्शनी शुक्रबारसम्म चल्नेछ ।

कला र शैली

मदन पुरस्कार र जगदम्बा–श्री प्रदान

- कान्तिपुर संवाददाता
उपन्यासकार नीलम कार्की निहारिकालाई मदन पुरस्कार अर्पण गर्दै मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित । (तल) बालसाहित्यका स्रष्टा शान्तदास मानन्धरलाई जगदम्बा–श्री प्रदान गरिँदै । 

(ललितपुर)- महिला अधिकारका लागि आफूसहित ६७ अनुयायीसँगै जीवन त्याग गरेकी योगमाया न्यौपानेमाथि लेखिएको ‘योगमाया’ उपन्यासका लागि नीलम कार्की निहारिकालाई वर्ष २०७४ को मदन पुरस्कार प्रदान गरिएको छ ।


बिहीबार पुरस्कार ग्रहण गरेपछि नीलमले भनिन्, ‘योगमायाको साहस र योगदानलाई समाजमा परिचित गराउने मेरो सानो प्रयासले मात्र उनको पूर्ण सम्मान हुँदैन । उनले परिकल्पना गरेको ‘धर्मराज्य अर्थात् सुशासन’ स्थापना भएपछि मात्रै उनको युद्धको विश्राम र उनको सच्चा सम्मान हुनेछ ।’


पाटनढोकास्थित रातो बंगला स्कुलको कमलमणि थिएटरमा आयोजित पुरस्कार वितरण समारोहमा नीलमलाई मदन पुरस्कार र साहित्यकार शान्तदास मानन्धरलाई जगदम्बा–श्री पुरस्कार प्रदान गरियो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले दुवैको आरती उतार्दै माला पहिर्‍याएर जनही २ लाख रुपैयाँ अर्पण गरे । पुरस्कृत सर्जकलाई तोया गुरुङ, रमेश खकुरेललगायतले गुठीको चलनअनुसार सिटबाट ‘उल्क्याएर’ स्टेज चढाएका थिए । दुवैलाई ब्यौला (बेहुला) सम्बोधन गरिएको थियो ।


कार्यक्रममा नीलमले निकै भावुक भएर परिवार, साथीभाइ, प्रकाशक र गुठीप्रति आभार व्यक्त गरिन् । जगदम्बा–श्री पाएका शान्तदास भने आफूलाई हौसला मिलेको बताइरहेका थिए । उनले भने, ‘बालबालिकाका लागि काम गरेकाले मैले देशका पूर्व र पश्चिमका धेरै जिल्ला पुगेर देश चिन्न पाएँ । यही कारण आजा मैले कहिल्यै नचिताएको ऊर्जा पाइरहेको छु ।’ २०१५ सालमा गोपालप्रसाद रिमालले आफूलाई नेपाली भाषामा लेख्न भनेपछि आफू बालसाहित्यतर्फ लागेको उनले स्मरण गरे ।


समाजले कम देखेका, कम लेखेका, कम सुनेका र कम बुझेका योगमायाजस्ता पात्रलाई साहित्यमार्फत् अगाडि ल्याएकोमा नीलमलाई पुरस्कृत गरिएको गुठी अध्यक्ष दीक्षितले बताए । शान्तदासमार्फत् आफूले नेपाली कथा परम्परा सिकेको भन्दै दीक्षितले थपे, ‘भविष्यको पुस्तालाई यहाँ र यहाँजस्तै बालसाहित्य, लेखन, सम्पादनमा सदैव सक्रिय रहने व्यक्तिको खाँचो छ ।’ भाषा, साहित्य र कला–संस्कृतिको विकास, विस्तार र प्रवर्धन गर्ने उद्देश्यले गुठी स्थापना गरिएको उनले अवगत गराए ।


समारोहमा विद्वद् प्रवचन दिँदै वातावरणविद् डा. तीर्थबहादुर श्रेष्ठले नेपालको पर्यावरणीय विवरण, हिमाल–पहाड–तराईको विशेषता र अहिलेको विवादास्पद बाराको वनबारे चर्चा गरेका थिए । ‘बारामा २४ लाख रूख काटेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रस्ताव छ । त्यसको बदलामा ६ करोड १२ लाख रूख अन्यत्र रोप्ने कुरा छ । रूख रोप्ने कहाँ
हो, ठाउँ यकिन छैन । रोपिहाले पनि सयौं वर्षको समयावधिपछि मात्र वनले स्वरूप लेला । समयान्धी सोच वातावरणका लागि उपयुक्त हुँदैन ।’

कला र शैली

पुर्खाको सीप र तेस्रो आँखा

- मधु शाही
राजधानीको ठमेलस्थित ‘दलाइला आर्ट स्पेस’ ग्यालरीमा जारी १७ औं एकल प्रदर्शनीमा राखिएका चित्रकार एरिना ताम्राकार र उनका सिर्जना ।

 (काठमाडौं) - तामाको पाता कुटेर विभिन्न भाँडाकुँडा बनाएको देखेरै चित्रकार एरिना ताम्राकारको बाल्यकाल हुर्किएको थियो । हजुरबादेखि बुुबाले समेत ज्यासल (काम गर्ने थलो) मा बसेर दिनभर तामा कुुटदै कलात्मक भाँडा बनाउँथे । इतिहासको कुनै विन्दुमा तामाको काम गर्ने भएकाले उनका पुर्खाले थर नै पाएका थिए ताम्राकार । यही थर बोकेर हुर्किएकी एरिनाले भने पुर्खाको पेसा अँगालिनन्, उनी लागिन् आधुनिक चित्रकलातिर, जहाँ उनले आफ्नो सुनाम बनाएकी छन् ।


नेपाली आधुनिक चित्रकलामा उनले आफ्नो स्थान त फराकिलो बनाइन् तर तामामा पोखिएको पुर्खाको सीप र त्यसप्रतिको लगाव भने भुल्न सकिनन् । यतिबेला उनै एरिनाले आफ्नो पुख्र्यौली धरातललाई चित्रबाटै सम्झेकी छन् । ‘तेस्रो आँखा’ सिरिजमा चित्र कोरेर चर्चा कमाएकी
एरिनाले यतिबेला यही सिरिजअन्तर्गत पुख्र्यौली कलाको सम्झना गरेकी हुन् । उनले तामाको पातामा कुुटेर तेस्रो आँखा प्रतिबिम्बित महिला अनुहारहरू उतारेकी छन् आफ्नो पछिल्लो कलामा ।


ठमेलस्थित ‘दलाइला आर्टस स्पेस’ ग्यालरीमा एरिनाको १७ औं एकल कला प्रदर्शनी जारी छ । ‘ज्यासा : फाइन्डिङ्स रुट्स’ थिममा उनले पुुर्खा र आफ्नो कला मिश्रण गरेकी छन् । बाउबाजेले तामा पिटेर भाँडा बनाउन गरेको कार्य पनि एक प्रकारको कला थियो भन्ने उनलाई लाग्छ । अहिले चार पुुस्ता बितिसक्दा तामाका त्यस्ता कलाकात्मक भाँडा घरमै बनाउने चलन हटिसक्यो, सबैतिर रेडिमेड बजार हाबी छ । बजारको सहज उपलब्धताकै कारण नेपाली मौलिक पहिचान संकटमा पर्दै गइरहेको समय उनको प्रदर्शनीले निकै ठूलो अर्थ राख्छ । ‘मलाई अझै पनि बाउबाजेले तामा पिटदा आउने टिङ–टिङ आवाज कहींकतैबाट गुन्जिरहेको झैं लाग्छ’, ग्यालरीमै भेटिएकी एरिना नोस्टाल्जिक बनिन्, ‘एकछिन् घोरिन्छु, त्यतिबेलाको दृश्य दिमागमा आउँछ । एक हिसाबले रमाइलो लाग्छ ।’


प्रदर्शनीमा राखिएका मध्ये १० कलाकृति तामाको पाता कुटेर बनाएको इमेजमा आधारित छन् भने अन्य १० वटाचाहिँ तेस्रो आँखा सिरिजका चित्र छन् । आधुनिक पुस्ता जति माथि उठे पनि आफ्नो धरातल भुल्नुु हुँदैन भन्ने सन्देश एरिनाका कलाले दिन्छ । तेस्रो आँखाको थिममा बनाइएका चित्र भने उनको आफ्नै सिग्नेचर शैली हुन् । नारी स्वरूपमा विभिन्न भावभङ्गी झल्किने आकृति चित्रहरूमा पाइन्छ । खासगरी रातो, गोल्डेन मिक्स रंगका चित्रले विशेष आकर्षण दिन्छ । फूलका बुट्टाभित्र निरस र उदासीन नारी पात्र एरिनाका क्यानभासमा प्राय: देखिन्छ । कतै अनुहार च्यातिएको जस्तो टेक्सचर पाइन्छ । उनका कलाको केन्द्र विन्दु भने आँखा हुन् । लाम्चा र मौन आँखाले चित्रको मर्म खुलाएको महसुस हुन्छ ।


एरिनाका अनुसार ‘मान्छेको मनभित्र के चलिरहेको छ ?’ भन्ने थाहा पाउन आँखा नियाल्दैमा काफी हुन्छ । त्यसैले उनी क्यानभासमा विषय प्रस्टाउन आँखामै बढी केन्द्रित हुने गर्छिन् । तेस्रो आँखा बाहिरी दुनियाभन्दा फरक नजरको हुन्छ । बाहिर जे देखिन्छ त्यो भित्र हुँदैन । त्यही भएर उनले चित्रकलामा ‘तेस्रो आँखा’ सिरिज थालेकी हुन् । थिम एउटै भए पनि एरिनाले प्रस्तुतिमा केही फरक बिम्बहरू देखाउने प्रयास गरेकी छन् । एउटै महिलाको अनुहारमा हरेक प्रकारका भावना पस्किने कोसिस उनले गरेकी छन् । हेर्दा रमाइलो र कलात्मक देखिए पनि उनका चित्रका नारी पात्रले कुुण्ठित मनोदशा बोकेको देखिन्छ ।


मौन तर भित्री मनको संवादको उनको क्यानभासमा आभास हुन्छ । तामाको पातामा कला सिर्जना गर्ने कार्यको अवधारणा भने मनिषलाल श्रेष्ठको एमक्युुब ग्यालरीमा एक महिना आवासीय कला वर्कसपको बेला बनाएकी हुन् ।


एक महिनासम्म चल्ने प्रदर्शनीमा ३५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्मका कलाकृति राखिएका छन् ।

कला र शैली

थेबाका कविता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कवि मुक्तान थेबाको नयाँ कृति ‘अखण्ड आलाप’ सार्वजनिक गरिएको छ । कवि तथा गीतकार भूपाल राई, लेखक राजेन्द्र महर्जन र कवि निभा शाहले बुधबार राजधानीमा थेबाको कविता कृति लोकार्पण गरे । कवि तथा गीतकार राईले थेबाका कवितामा विद्रोह चेत भएको दाबी गर्दै विचार र कलाको सशक्त संयोजन कृतिमा रहेको बताए ।


राईले नेपाली साहित्यमा सिन्डिकेट हाबी भएको बताउँदै ‘अखण्ड आलाप’ का कवितामा प्रयुक्त राष्ट्रियताको बिम्ब र मिथले एकल जातीय राष्ट्रियता तोडिएको बताए । लेखक महर्जनले मुक्तानका कवितामा शक्ति र प्रतिरोधको बिम्ब धेरै आएको बताए । कवितामा तामाङ संस्कृति मात्र नभई देशभरका जातजातिलाई पनि बिम्बको रूपमा प्रयोग गर्न कवि सफल भएको उनको दाबी थियो । कवि शाहले मुक्तानका कविता वैचारिकरूपमा सशक्त भएको बताइन् ।
साहित्यिक आन्दोलन ‘उन्मुक्त पुस्तासँग’ सम्बन्धित कवि थेबाको यसअघि तामाङ भाषाको कविता संग्रह ‘काकलिङ’ प्रकाशित छ । ‘अखण्ड आलाप’ भने सांग्रिला बुक्सले छापेको हो ।

कला र शैली

पुस्तकालयलाई ४५ लाख

- कान्तिपुर संवाददाता

बनेपा (कास)– काभ्रे बहुमुखी क्याम्पसस्थित जनमत वाङ्मय पुस्तकालयका लागि समाजसेवी राजभाइ प्रधानले ४५ लाख रुपैयाँ पुस्तकालय भवन बनाइदिने भएका छन् । प्रधानले आफ्नी जीवनसंगिनीका स्मृतिमा ‘दिव्यलक्ष्मी’ पुस्तकालय भवन निर्माण गर्न लागेका हुन् । यसैगरी क्याम्पसमै अर्का समाजसेवी शान्तिकिरण दुवालले आमा–बुबा खिलकुमारी–गणेशबहादुरको स्मृतिमा प्रत्येक वर्ष आईटीमा प्रथम हुने छात्र र छात्रालाई २५ हजार रुपैयाँसहित पुरस्कार दिने भएका छन् । उनले क्याम्पस अन्तर्गत ‘खिलकुमारी–गणेशबहादुर स्मृति कोष’ को नाममा रहने गरी ५ लाख रुपैयाँको चेक क्याम्पस प्रमुख केजी बयदारलाई हस्तान्तरण गरे ।

कला र शैली

आमा बनिन् चाँदनी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– दर्जन तामाङ फिल्ममा अभिनय गरेकी अभिनेत्री चाँदनी मोक्तान आमाको महिमा गान समेटिएको गीतमा देखिएकी छन् । उनी अभिनीत ‘आमा...’ बोलको तामाङ म्युजिक भिडियो राजधानीमा हालै सार्वजनिक गरियो । गीतको शब्द, संगीत र स्वर भने राजकुमार तामाङको रहेको छ । थुप्रै तामाङ फिल्मको निर्देशन गरिसकेका अमिर दोङले निर्देशन गरेको म्युजिक भिडियोमा चाँदनीलाई बुद्ध स्याङबाले साथ दिएका छन् । डम्फु मिडियाको प्रस्तुति रहेको भिडियोलाई सञ्जय योन्जनले निर्माण गरेका हुन् भने छायांकन र सम्पादन विक्रम मोक्तानले गरेका छन् ।


गीतलाई राजकुमारले आधुनिक शैलीमा ढालेका छन् । उनले यसअघि ‘गरिबीले बनायो परदेशी...’, ‘दिलमा यस्तो...’,‘निभ्न लागेको...’, ‘सुस्ता घट्यो...’,
‘नेपाल आमाको...’ सँगै सेलो गीतहरू ‘ताकाधुई डम्फु...’, ‘रसुवा घुम्दै...’, ‘कानैमा ढुंग्री...’, ‘भुमेला जात्रा...’ लगायत ३ दर्जन गीत ल्याइसकेका छन् ।

कला र शैली

नौराते मेला सुरू

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– हरेक वर्ष भक्तपुरमा लाग्ने नौराते मेला सुरु भएको छ । घटस्थापनाको रातिबाट यहाँका नौवटा बेग्लाबेग्लै शक्तिपीठमा नौ रातसम्म मेला लाग्ने गर्दछ । मेलाको बेला राति मन्दिरमा पूजा तथा दर्शन गर्नेको भीड लाग्ने गर्दछ । नवरात्रि मेलाको पहिलो रात भक्तपुरको च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा टोलटोलबाट स्थानीय बाजा बजाउँदै केटाकेटी, युवायुवती, बूढाबूढीसमेत मेलामा सहभागी भएको स्थानीय जानकी श्रेष्ठले बताइन् ।


नौराते मेलामा पहिलो रात ब्रह्मायणी, दोस्रो महेश्वरी, तेस्रो कुमारी, चौथो भद्रकाली, पाँचौं महाकाली, छैटौं महालक्ष्मी, सातौं इन्द्रायणी, आठौं त्रिपुरासुन्दरी र नवौं रात वाराहीस्थानमा गरी नौ शक्तिपीठमा मेला लाग्ने गर्दछ । ब्रह्मायणीमा भने घटस्थापनाको रात, नवमीको रात र दशमीको दिनभर मेला लाग्ने गर्दछ ।


नवमीका दिन राति गछेंस्थित नवदुर्गा द्यौ छे, अर्थात् नवदुर्गा मन्दिरमा रहेको महिषासुर दैत्यको प्रतीक मानिने खम्ये अर्थात् राँगोलाई मदिरा खुवाएर लठ्याई पूजा गरेर लखेटदै राति नै ब्रह्मायणी पुर्‍याएर बध गर्ने परम्परा छ । भक्तपुरका संस्कृतिकर्मीका अनुसार यसअघि मृत्यु वरण गरेका नवदुर्गा नाचका गण दसैं सुरु भएसँगै जीवित हुने विश्वासमा यो जात्रा मनाइन्छ । यही रात भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडालाई नगर परिक्रमा गराई ‘पायो न्हयाकेगू जात्रा’ अर्थात् खड्गजात्रा मनाइन्छ । नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित नवदुर्गाका नौ स्वरूप जीवित हुने परम्पराको रूपमा यो जात्रा चलिआएको हो ।

कला र शैली

सानुका कथा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– आख्यानकार सानु शर्मा ‘एकादेशमा’ कथासंग्रहसहित पाठकमाझ आएकी छन् । ‘एकादेशमा’ उनको पाँचौँ कृति हो ।


सांग्रिला बुक्सले प्रकाशन गरेको उक्त संग्रहमा २१ कथा छन् । महिलाका अन्तद्र्वन्द्व, आर्तनाद, उत्कण्ठा र उच्छासलाई आफ्ना लेखनमार्फत अभिव्यक्ति दिँदै आएकी शर्माले पछिल्लो कृतिमा मुख्यत: तिनै सन्दर्भलाई केन्द्रमा राखेकी छन् । ‘यो संग्रहका कथाहरूमा शर्माले नारीका अन्तर्घात, अबोधता, आक्रामकता, कुण्ठा, दुश्चिन्ता, प्रेम, वात्सल्य र सपनालाई ठाउँ दिएकी छन्,’ विज्ञप्तिमा भनिएको छ ।


यसअघि ‘अर्थ’ र ‘विप्लवी’ लगायतका उपन्यास निकालेकी शर्माले पछिल्लो कृतिलाई पनि पाठकहरूले उत्तिकै माया दिनेमा विश्वास जनाएकी छन् ।

 

Page 13
कला र शैली

गिनिज बुकमा नेपाली गीत

- कान्तिपुर संवाददाता
गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र वितरण गर्ने समारोहमा संस्कृतिमन्त्री रवीन्द्र अधिकारी, गायकहरू प्रेमध्वज प्रधान र आनन्द कार्की, उक्त अभियानका अगुवा निपेश ढाकालगायत । तस्बिर : बिजु महर्जन/कान्तिपुर

काठमाडौं (कास)– कीर्तिपुर क्रिकेट मैदानमा बिहीबार बिहान खेलाडी होइन गायकगायिकाको भीड थियो । सबै नीलो टिसर्टमा सजिएका थिए । उनीहरूले लहरै उभिएर ‘माटो जोगाऊँ...’ बोलको गीत गाए । यसमा ३ सयभन्दा बढी गायक–गायिकाको स्वर एकसाथ गुन्जियो । उनीहरूले दुई वर्षअघि नै रेडियो नेपालको स्टुडियोमा यो गीत रेकर्ड गराएका थिए ।


सर्वाधिक ३६५ जनाको स्वर रहेको यो विश्वमै पहिलो गीत बनेको छ । वातावरणीय चेतनामूलक उक्त गीत ‘मिलानकोली...’ शीर्षकमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको हो । यसैको खुसियालीमा र गिनिज बुकको प्रमाणपत्र वितरणका लागि बिहीबार जमघट गराइएको थियो । उनीहरूको सामूहिक गायन सुनेपछि संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले सराहना गरे । ‘नेपाली माटो, प्रकृति र जीवनमा आधारित गीत रहेछ’, उनले भने, ‘यो कहिल्यै पनि पुरानो हुनेछैन ।’
वातावरण संरक्षणका लागि पहल गर्दै आएका निपेश ढाकाको रचना र संगीत रहेको गीतमा सबैभन्दा पाको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे (९८ वर्ष) र कान्छोमा निश्चल अधिकारी (५ वर्ष) को स्वर छ । १२३ महिला र २४२ पुरुषले गाएका छन् । लगातार १० घण्टा लगाएर रेकर्ड गरिएको ढाकाले बताए । संगीतमार्फत् एकताको उदाहरण दिन यस्तो गरेको उनको भनाइ थियो । ‘म सबैलाई जोड्न चाहन्थें,’ उनले भने, ‘संगीतको सहारा लिएँ ।’ आफू वातावरण संरक्षणसन्बन्धी काम गर्दै आएकाले यही भावको गीत तयार पारेको बताए ।


कार्यक्रममा उपस्थित गायक–गायिकाले मिलानकोली अभियानमा संलग्न हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । संगीतकार टीका भण्डारी भन्दै थिए, ‘नेपाली संगीतमा पहिलो पटक यस्तो कार्यक्रम भएको हो । नेपाली स्रष्टाले पनि गिनिज बुकमा नाम लेखाउन सक्छन् भन्ने प्रमाणित भयो ।’ गायिका प्राश्ना शाक्यले चाहिँ जलवायु परिवर्तनले वातावरण बिगारिरहेका बेला यस्तो गीत आवश्यक रहेको बताइन् । त्यत्तिका ठूलो समूहमा गाउँदा नौलो अनुभूति भएको पनि उनले सुनाइन् ।


हातमा गिनिज बुकको सर्टिफिकेट बोकेका गायक अजर जंगमले वातावरण संरक्षणमा यो अभियानले साथ दिने अपेक्षा व्यक्त गरे । अनेक खिचातानीले अलमलिरहेका बेला कलाकारलाई एकजुट गराउन सक्नु ठूलो कुरा भएको उनको भनाइ थियो । ‘यी सबैबीच वल्र्ड रेकर्ड पनि कायम भयो’, उनले थपे, ‘सुनमा सुगन्धझैं भयो ।’

Page 14
समाचार

तीनै तहको क्षमता पहिचान आवश्यक

टोलीले संघ, ७ वटै प्रदेश र ७ सय ५३ मध्ये १ सय ५० स्थानीय तहमा पुगेर अध्ययन गर्ने
- घनश्याम गौतम
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बिहीबार मुख्यमन्त्री कार्यालयमा भेटवार्ता गर्दै विश्व बैंक र बेलायती सहयोग नियोग (डीएफआईडी) को टोली । तस्बिर : कान्तिपुर

 (रूपन्देही)- प्रदेशको अहिलेकै संगठन संरचनाअनुसार काम गर्न नसक्ने गुनासो बढिरहेका बेला संघीय सरकारले त्यसको अवस्था बुझ्न र सम्भावना अध्ययन गर्न विदेशी दातालाई अनुरोध गरेको छ । संघीय अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विश्व बैंक र बेलायती सहयोग नियोगलाई संघ, प्रदेश र स्थानीय तहको अवस्थाको अध्ययन र सर्वेक्षण गरी ‘क्षमतासम्बन्धी आवश्यकताको पहिचान’ गर्न अनुरोध गरेको हो ।


सरकारको अनुरोधअनुसार अमेरिकाको जर्जिया स्टेट युनिभर्सिटी र प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) ले ७ वटै प्रदेशमा अध्ययन सुरु गरेका हुन् । टोलीले बिहीबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग भेट गरेको छ । टोलीमा विश्व बैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग (डीएफआईडी) का सुशासन हेर्ने टिम लिडर सिन्थिया रोय, युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविधु, यूएनडीपीका सहायक आवासीय प्रतिनिधि यमनाथ शर्मालगायत सहभागी थिए ।


प्रदेशको विकासको प्राथमिकता, संघीयतालाई कार्यान्वयन गर्ने क्रममा हालसम्म भएका काम, समस्या र अबको गन्तव्यबारे टोलीले जानकारी लिएको थियो । संगठन संरचनाको अवस्था, संविधानमा उल्लेखित साझा र एकल अधिकार सूचीअन्तर्गत काम गर्न बनेको संरचनागत अवस्था छ/छैन, बनेको भए जनशक्तिको अवस्था कस्तो छ लगायत विषयमा जानकारी लिएको प्रदेश सरकारका प्रमुख सचिव तीर्थराज ढकालले बताए । ‘प्रदेश सरकारको विकास प्राथमिकता, संरचनागत अवस्था र पूर्वाधारका विषयमा जानकारी आदानप्रदान गर्ने काम भयो,’ उनले भने, ‘टोलीसँग मुख्यमन्त्रीज्यूले सरकारको प्रमुख प्राथमिकता पर्यटन क्षेत्रको विकास भएकाले प्रदेश तहमै सहयोग गर्न आग्रह गर्नुभयो ।’ टोलीले संघ, ७ वटै प्रदेश र ७ सय ५३ मध्ये १ सय ५० स्थानीय तहमा पुगेर अध्ययन गर्नेछ ।


तीन तहमा कर्मचारीको अवस्था, प्रदेश र संघको आवश्यकता, पूर्वाधार समस्या, कानुनी अप्ठ्यारादेखि सवारीसाधनको अवस्थासमेत अध्ययन गरी टोलीले सरकारलाई प्रतिवेदन बुझाउनेछ । उक्त प्रतिवेदनको एकप्रति दाताले राख्ने गरी संघीय सरकारसँग सम्झौता भएको स्रोतले बतायो । टोलीले गर्ने अध्ययनको प्रभावकारिता र प्रयोगका बारेमा मुख्यमन्त्री पोखरेललाई जानकारी गराएको छ । विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिसले प्रदेश ५ सहित अन्य क्षेत्रमा पर्यटन विकासका लागि तयार हुँदै गरेको सहयोगसम्बन्धी आयोजनाका बारेमा जानकारी गराएका थिए । मुख्यमन्त्रीले दाताको सहयोगमा अहिले कार्यान्वयनमा रहेका वैदेशिक सहयोगका आयोजनाहरूमा सम्भव भएसम्म प्रदेशका प्राथमिकता र आवश्यकतालाई समावेश गरी अघि बढाउन आग्रह गरेको प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए । प्रदेशमा सञ्चालित एडीबी र विश्व बैंकका केही ठूला परियोजना संघीय सरकारले नै हेर्ने गरी प्रदेशमा पत्राचार गरिसकेको छ ।


एडीबीले रूपन्देहीको सिद्धार्थनगर र बाँकेको नेपालगन्जमा सहरी सुदृढीकरण आयोजना सञ्चालन गरिरहेको छ । रूपन्देहीमै किसानका लागि उन्नत बीउबिजन कार्यक्रम सञ्चालनमा छ । यसअघि प्रदेश मातहत रहने भनिएका यी कार्यक्रम पुन: केन्द्रमै फिर्ता गरिएको जानकारी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा आएको सचिव थानेश्वर गौतमले बताए । भेटका अवसरमा मुख्यमन्त्री गौतमले प्रदेशमा सञ्चालन हुने गरी नयाँ आयोजना अघि बढाउनुपूर्व प्रदेश सरकारसँग पनि छलफल गरी प्रदेश सरकारको सोच र प्राथमिकतालाई योगदान पुर्‍याउने गरी अघि बढाउन आग्रहसमेत गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

समाचार

दसैंमा नातिनातिनाको झल्को

- दुर्गालाल केसी
दाङको घोराही १६ तेरौटेस्थित वृद्धाश्रममा रहेका वृद्धवृद्धासँग बुढेसकालका समस्याबारे छलफल गर्दै विद्यार्थीहरू । तस्बिर : दुर्गालाल/कान्तिपुर

  (दाङ)- दसैं सुरु भइसक्यो, सबैतिर जमरा राखिसकियो । वर्षभरि भेट नहुने घर परिवारका सदस्य र आफन्त यही पर्व पारेर जमघट हुन्छन् । कामको सिलसिलामा घरबाहिर भएकाहरू घरतिर फर्कन हतारिँदै छन् । घरमा बसेका वृद्ध बाआमा र बाजेबज्यैहरू आफ्ना सन्तान हेर्ने रहरले आतुर छन् । घोराही उपमहानगरपालिका १४, लुहासुरका ७० वर्षीय होलप्रसाद चौधरीलाई भने न कोही सन्तानको पर्खाइ छ, न त कतै जानु छ ।


घोराही १६, तेरौटेस्थित वृद्धाश्रममा उनी जीवनका अन्तिम दिनगिन्ती गरिरहेका छन् । सन्तानले हेरचाह गर्न छोडेपछि उनी २ वर्षअघि वृद्धाश्रम पुगेका हुन् । हरेक चाडपर्वले उनलाई रुवाउँछ । अझ चाडपर्वकै मेसो पारी वृद्धाश्रम आउने बालबालिकाले उनलाई नातिनातिनाको झल्को दिन्छन् । उनीसामु केही बालबालिका फलफूल लिएर आए, दु:खसुखका कुरा सोधे । आफ्नै नातिनातिनाजस्तै बालबालिका अगाडि देख्न पाउँदा उनी दंग परे तर आफ्नै नातिनातिना भने थिएनन् । सिद्घरत्ननाथ मावि नारायणपुरबाट वृद्धवृद्धाको अवस्थाबारे जान्न आएका बालबालिका थिए ।


पाठ्यपुस्तकमा भएको ज्येष्ठ नागरिकसम्बन्धी पाठबारे व्यावहारिक ज्ञान हासिल गर्न उनीहरू त्यहाँ पुगेका थिए ।


काखमा नातिनातिना खेलाएर बस्ने उमेरमा वृद्धाश्रममा एक्लै बस्नुपरेको पीडाले चौधरीलाई साह्रै दु:खी बनाएको छ । उनले आफ्ना सबै कुरा बालबालिकालाई सुनाए । ‘आफ्ना सन्तानले बोझ ठाने । अरू बालबालिका आएर हाम्रोबारे सोधीखोजी गरे,’ उनले भने, ‘नातिनातिनाको याद आयो तर घर जान पाइँदैन, उनीहरू पनि यहाँ आउँदैनन् । कसरी भेट्नु र ?’ उनलाई दसैंमा टीका र जमरा लगाएर नातिनातिनालाई वृद्धवृद्धाको हेरचाह गर्ने आशीर्वाद दिन मन छ तर उनले दुई वर्षदेखि यस्तो अवसर पाएका छैनन् र अब पाउने आस पनि छैन ।


घोराही ११, बाँसगजेरीका ८० वर्षीय दुर्गाप्रसाद पाण्डेलाई पनि बालबालिकासामु आफ्ना कुरा सुनाउन पाएपछि केही हलुँगो महसुस भयो । उनलाई आफ्ना नातिनातिनाबारे केही पनि थाहा छैन । १ वर्षदेखि उनी वृद्धाश्रममा छन् । यसबीचमा उनलाई भेट्न कोही पनि आएनन् । दसैंले उनलाई घर जाऔं जाऔं बनाउँछ तर सन्तानको छि:छी र दूरदूरले उनको मनै मर्छ । बुढेसकालका समस्या सुन्न आएका स्कुले विद्यार्थीसँग उनले खुलेर समस्या राखे । आफ्ना बाआमालाई यस्तो व्यवहार नगर्न सुझाव पनि दिए । ‘हाम्रोजस्तो हालतमा कोही पनि बूढाबूढी पुग्नु नपरोस् । सानैदेखि कुरा बुझ्दै गर्नू,’ उनले भने, ‘धर्मकर्म कमाउन टाढा जानुपर्दैन ।


आफ्नै घरका वृद्धवृद्धालाई आदरसम्मान गरे पुग्छ ।’


पश्चिम रुकुमस्थित नुवाकोट चौताराकी ७६ वर्षीया लली चन्द विद्यार्थीसँग वृद्धावस्थाका समस्याबारे छलफल गर्न हौसिइन् । ‘दसैं आयो । यस्तो बेला पनि आफ्ना नातिनातिना देख्न पाइँदैन । यी केटाकेटीले सम्झाइदिए,’ भावुक हुँदै उनले भनिन्, ‘यिनीहरूकै मुख हेरेर भए पनि चित्त बुझाउनुपर्ने भयो । बूढाबूढीको आशीर्वाद सबैलाई लागोस् । बाआमा पाल्ने बुद्धि सबैलाई पलाओस् ।’


बालबालिका पनि वृद्धवृद्धाका समस्या सुनेर भावुक भए, कतिले बुढेसकालमा भोग्नुपरेका कठिनाइ थाहा पाएर अचम्म माने । ‘मान्छेले यस्तो पनि गर्दा रै’छन्, जन्म दिने बाआमालाई पनि यस्तो व्यवहार कसरी गर्न सकेका होलान् ?’ विद्यार्थी विक्रम रोकाले भने, ‘बाआमा त भगवान्जस्तै हुन् । उहाँहरूको स्याहार र संरक्षण गर्नु हाम्रो कर्तव्य हो तर यहाँ यस्तो अवस्था देखेर अचम्म लाग्यो ।’


ज्येष्ठ नागरिक अपहेलित भएको पहिलोपटक देखेपछि विद्यार्थी शीतल चौधरी पनि निकै दु:खी भइन् । पाठ्यपुस्तकमा भएको ज्येष्ठ नागरिकको पाठ पढेपछि थप बुझ्न स्थलगत अध्ययनमा आएकी उनी प्रत्यक्ष देखेपछि अचम्म परिन् । ‘पाठ पढिसकेपछि ज्येष्ठ नागरिकको अवस्था बुझ्न जाऔं भनेर यहाँ आएका थियौं । यस्तो अवस्था होला भनेर सोचेका पनि थिएनौं,’ उनले भनिन्, ‘हजुरबा हजुरआमाहरूका कुरा सुनेपछि हामीलाई पत्याउनै गाह्रो भयो । आफ्नौ सन्तानले त्यसरी किन हेला गरेका होलान् भनेर अहिलेसम्म पनि सोचिरहेकी छु ।’
अधिकांश वृद्धवृद्धाले छोराबुहारीबाट तिरस्कृत भएर वृद्धाश्रममा पुगेको गुनासो गरेका थिए । घरमा बस्न नसक्ने अवस्था भएपछि वृद्धाश्रमको आश्रय लिन पुगेको उनीहरूको दुखेसो थियो । व्यावहारिक ज्ञान हासिल गर्न र समाज बुझ्न वृद्धाश्रम अवलोकन उपलब्धिमूलक रहेको विद्यार्थी राधिका केसीले बताइन् । ‘पढेको भन्दा धेरै फरक कुरा यहाँ देख्न पाइयो । अब ज्येष्ठ नागरिकका बारेमा लेख्दा झल्झली यहीँको याद आउने भयो,’ उनले भनिन्, ‘हाम्रा लागि यो ठूलो पाठ भएको छ । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने सिकाइ भएको छ ।’
अर्का विद्यार्थी सुदीप चौधरीले समाजमा ज्येष्ठ नागरिकको सम्मान गर्ने शिक्षा दिन जरुरी रहेको महसुुस गरे । यसरी वृद्धावस्थामा घरबाट निस्कनुपर्ने अवस्था दु:खदायी भएको उनले बताए । ‘मानिसले आफ्नो कर्तव्य बिर्संदै गएको देखियो । परिवारका ज्येष्ठ सदस्यबाट सिक्नुपर्ने कुराहरू धेरै छन् तर यसबारे धेरै मानिस जिम्मेवार नभएको देखियो,’ उनले भने, ‘अब समाजमा ज्येष्ठ नागरिकको संरक्षण गर्ने अभियान चलाउन जरुरी छ ।’ वृद्धाश्रममा विभिन्न समूह बनाएर ज्येष्ठ नागरिकका फरकफरक समस्यामाथि छलफल गरी विद्यार्थीले प्रतिवेदन तयार पारेको शिक्षिका लक्ष्मी केसीले बताइन् । यसले विद्यार्थीलाई समाज बुझ्न सघाएको उनले बताइन् ।


वृद्धाश्रममा १७ जना वृद्धवृद्धा रहेको प्रबन्धक हीरा शाहले बताइन् । यसअघि २६ जना रहेकामा ९ जनाको मृत्यु भइसकेको उनले जानकारी दिइन् । वृद्धाश्रममा दाङका साथै रुकुम, रोल्पा, सल्यानलगायतका जिल्लाका ज्येष्ठ नागरिक रहेको उनले बताइन् । अधिकांश वृद्धवृद्धा अब फर्केर घर नजाने मनस्थितिका साथ वृद्धाश्रममा आएको र उनीहरूका कोही पनि आफन्त भेट्न नआउने गरेको उनले बताइन् । ‘सबैका उस्तै खालका समस्या छन् । घरपरिवारले बेवास्ता गरेका कारण मन दुखाएर आएका छन्,’ उनले भनिन्, ‘यहाँ हामीले वृद्धवृद्धाबीच दु:खसुख साटासाट गर्ने वातावरण बनाएका छौं । चाडपर्वमा पनि सकेजति रमाइलो नै गराउँछौं ।’

समाचार

आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सकविहीन

- मोहन बुढाऐर

 (धनगढी)- सुदूरपश्चिम प्रदेशअन्तर्गतका अधिकांश आयुर्वेदिक अस्पताल जिल्ला स्वास्थ्य केन्द्र चिकित्सकविहीन छन् । प्रदेशका ९ मध्ये ३ जिल्लामा मात्रै आयुर्वेद चिकित्सक कार्यरत छन् । पुरानो आयुर्वेद चिकित्सा पद्धतिद्वारा रोगको उपचार खोज्नेको संख्या पछिल्लो समयमा बढेका छन् । चिकित्सकीय सेवा अभावमा पनि सुदूरपश्चिम प्रदेशमा वर्षमा १ लाख ५० हजार बढीले आयुर्वेदिक चिकित्सा सेवा लिएको एक तथ्यांकले देखाएको छ ।


प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयुर्वेद शाखाका प्रमुख डा. चेतराज जोशीले नसर्ने रोगका लागि यो पद्धति प्रभावकारी भएकाले उपचार गराउने बिरामीको संख्या बढिरहेको बताए । तर उनले जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार चिकित्सक र वैद्यको पदपूर्ति गर्न नसकेको स्विकारे । उनका अनुसार यो प्रदेशका ९ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा चिकित्सकसहित ४२ बढीको पद रिक्त छन् । ‘डाक्टर नहुँदा कहीं कविराज र वैद्यबाट आयुर्वेद स्वास्थ्य केन्द्र चलिरहेको छ,’ उनले भने, ‘तथ्यांकअनुसार सबै जिल्लामा
आयुर्वेद पद्धतिबाट सेवा लिनेको संख्या सन्तोषजनक छ ।’


डा. जोशीले प्रदेशमा आयुर्वेद र आधुनिक चिकित्सालाई एकीकृत गरी एउटै ठाउँबाट दुईवटै विधिबाट उपचार दिने प्रक्रियामा अघि बढेको बताए । ‘अहिले आयुर्वेद प्रतिष्ठान, प्रादेशिक हर्बल गार्डेन र प्रादेशिक योग तथा पञ्चकर्म केन्द्रका लागि समेत काम भएको छ,’ डा. जोशीले भने, ‘यो योजनामा जिल्ला र स्थानीय तहमा हाल रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमा चिकित्सक र वैद्य दरबन्दी पदपूर्ति हुनेछ ।’ उनले हाल यस प्रदेशका ८८ मध्ये ३८ स्थानीय तहमा ४२ आयुर्वेद स्वास्थ्य संरचना मात्रै रहेको जानकारी दिए । मन्त्रालयको आयुर्वेद शाखाका अनुसार हाल डडेल्धुरा, कञ्चनपुर र कैलालीबाहेक अन्य सबै जिल्लामा आयुर्वेद चिकित्सक छैनन् । कविराज र वैद्य पनि सबै आयुर्वेद स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार छैनन् । अछाममा ३ आयुर्वेद स्वास्थ्य संस्था छन् । जसमा एक चिकित्सकसहित कविराज ३ र वैद्य ४ जनाको दरबन्दी हो तर यहाँका चिकित्सक अध्ययन बिदामा छन् । वैद्यको एक पद रिक्त छ ।


बाजुराका २ आयुर्वेद स्वास्थ्य केन्द्रमा एक/एक कविराज २ र ३ वैद्य कार्यरत छन् । तिनीहरू पनि नियमित उपचार सेवामा संलग्न नहुने स्थानीयको गुनासो छ । बझाङमा जिल्ला आयुर्वेद चिकित्सक प्रदेशको सामाजिक विकास मन्त्रालयमा तानिएका छन् । यहाँ ५ कविराज र ६ वैद्यको दरबन्दी छ । वैद्यको १ पद रिक्त छ । डोटीमा ५ आयुर्वेद स्वास्थ्य केन्द्र छन् । चिकित्सकसहित यहाँ कविराजका २ पद रिक्त छन् । जिल्लाभर ६ कविराज र ९ वैद्य कार्यरत छन् ।


त्यसैगरी बैतडी र दार्चुला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा चिकित्सक पद स्थापनाकालदेखि रिक्त छन् । दार्चुलामा कविराज र बैतडीमा वैद्य एक/एक पद रिक्त छ । डडेल्धुरामा ५ कविराजमध्ये २ जनाको पद रिक्त छ । ६ वैद्यमा १ पद खाली छ । कञ्चनपुरमा २ कविराज र १ वैद्य पद रिक्त छ । कैलालीमा कविराज र वैद्यको एक/एक पद खाली छ ।
आयुर्वेद शाखाले हालै वार्षिक रूपमा जिल्ला–जिल्लाको आयुर्वेद पद्धतिबाट सेवा लिनेको संख्या संकलन गरेको छ । सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा आयुर्वेद सेवा लिने बिरामी छन् ।


यहाँका आयुर्वेदिक स्वास्थ्य संस्थाबाट वर्षमा ५२ हजारले उपचार सेवा लिएका छन् । पहाडी जिल्लामा आयुर्वेद सेवा बढी लिनेमा दार्चुला पर्छ । त्यहाँ वर्षभरि २१ हजारले आयुर्वेद सेवा लिएका छन् । त्यस्तै गत वर्षको तथ्यांकमा बझाङमा १४, डोटीमा १६, डडेल्धुरामा ११ र बैतडीमा १८ हजार बिरामीले आयुर्वेद उपचार सेवा लिएका छन् । सबैभन्दा कम अछाममा ५ हजार र बाजुरामा ८ हजारले मात्रै आयुर्वेद पद्धतिबाट सेवा लिएका छन् ।


‘तथ्यांकअनुसार हाल नसर्ने रोगबाट ६० प्रतिशत सर्वसाधारण पीडित छन्,’ डा. जोशीले भने, ‘यस्ता नसर्ने रोगका बिरामीलाई कुनै असर नपार्ने गरी हुने आयुर्वेद उपचार पद्धति बढी प्रभावकारी भएको हो ।’ चिकित्सकका अनुसार वेदबाट प्रादुर्भाव भएको यो पद्धति प्रचलित चिकित्सा पद्धतिमा सबैभन्दा पुरानो र भरपर्दाे मानिन्छ । रोग लागेको व्यक्तिको
रोगको उपचार र स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा पद्धति मानिन्छ । विश्व स्थास्थ्य संगठनले समेत यस पद्धतिलाई मान्यता दिएको डा. जोशी बताउँछन् ।

समाचार

विपद् व्यवस्थापन सामग्री प्रदान

- कान्तिपुर संवाददाता

भैरहवा (कास)– विपद् जोखिम न्यूनीकरणका लागि रूपन्देहीका पाँच स्थानीय तहलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरिएको छ ।


बढी जोखिममा रहेका ओमसतिया, सियारी, सम्मरीमाई, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकालाई विपद् व्यवस्थापनसम्बन्धी सामग्री प्रदान गरिएको हो । ती स्थानीय तहलाई १६ लाख ७२ हजार ७ सय ४० रुपैयाँ बराबरको सामग्री प्रदान गरियो । ती सामग्री नमुना एकीकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौडेलले स्थानीय तहलाई हस्तान्तरण गरिएको बताइन् ।
ती सामग्रीले उद्धारमा सहयोग पुग्ने सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले बताए । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले न्यूनीकरणका लागि प्रदेशका सबै स्थानीय तहमा फ्रेमवर्क बनाएर अगाडि बढ्नुपर्ने बताए ।

Page 15
समाचार

कमाउन गएको छोरो कफिनमा

- पर्वत पोर्तेल

 (सुरुंगा, झापा) - साउदीको जुहेलस्थित एउटा मिनिरल वाटर कम्पनीमा कार्यरत थिए, झापा कन्काई नगरपालिका २ सुरुंगाका ३१ वर्षीय झलक श्रेष्ठ (दीपक) । गत असोज ८ गते बिहान श्रीमती विन्दुसँग उनले निकै लामो फोनमा कुरा गरेका थिए ।


श्रीमती विन्दुका अनुसार उनले दसैं बिदा नमिलेका कारण तिहारपछि आउने योजना सुनाए । कस्तो विडम्बना † त्यही दिन अपराह्न ४ बजे उनी दुर्घटनामा परे । तिहारपछि होइन, दसैंअघि नै उनी घर फर्किए तर काठको बाकस (कफिन) मा ।


जुहेलस्थित अल अब्दुल्लाह अब्दुल वाहक अल वाराक कम्पनीको हेभी ट्रकका चालक थिए दीपक । दुई वर्षअघि युसो ग्लोबल म्यानपावरमार्फत उनी त्यहाँ पुगेका हुन् । ‘ऊ तेस्रोपटक साउदी गएको थियो’, बुवा जितबहादुर भक्कानिए, ‘यसअघि पनि दसैंमा आउने, जाने गथ्र्यो । यो पटकचाहिँ पापी दैवले चुँडेर लग्यो ।’ मृत्युको दिन दीपक कम्पनीको मान्छे लिन एयरपोर्ट जाँदै थिए । तर, एयरपोर्ट पुग्न नपाउँदै बीच बाटोमै उनको गाडी दुर्घटना भयो । घटनास्थलमै उनको मृत्यु भयो । मृत्युको भोलिपल्ट मात्रै परिवारले खबर पाएको बताए । ‘छोराको मृत्युको भोलिपल्ट कम्पनीका सुपरभाइजर मनोज पौडेलले फोनबाट खबर सुनाए, तर पत्यार लागेन,’ बुवा जितबहादुरले बिलौना गर्दै भने, ‘यथार्थ रहेछ । अहिले पनि सपनाजस्तो लागिराछ ।’


खाडीमा मृत्यु भएकाको शव ल्याउन साह्रै समस्या छ । मृत्युलगत्तै शव ल्याउने पहल भएको तर प्रक्रिया लामो भएको काका डिगेनले सुनाए । ‘बल्लतल्ल १७ दिनपछि शव ल्याउन सक्यौं,’ उनले भने, ‘साह्रै झमेला हुँदोरहेछ शव ल्याउन ।’


बुधबार दीपकको शव बुझ्न बुवा जितबहादुर, काका डिकेन तथा आफन्त एयरपोर्ट पुगे । धेरैका छोरा दसंै मान्न घर फर्किंदा दीपक भने काठको बाकसमा आए । छोराको शव बुझ्न गएका जितबहादुर र आफन्त भक्कानिए । ‘आफू मर्ने बेलामा छोराको किरिया बस्नुको पीडा कस्तो होला,’ जितबहादुरले बिहीबार सुरुंगास्थित घरमा भने, ‘त्यो मलाईमात्रै थाहा छ ।’

समाचार

संघीय र विकास क्षेत्र बजेटमा अनियमितता

उपसभामुख नेतृत्वमा संसदीय छानबिन समिति
- कान्तिपुर संवाददाता

(जनकपुर)- प्रादेशिक सरकारको व्यवस्थापनमा संघीय सरकारले सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत खर्च गरेको रकममा अनियमितताको आशंका गर्दै प्रदेश २ मा संसदीय छानबिन समिति गठन भएको छ ।


प्रदेश सरकार, प्रदेश प्रमुख र प्रदेशसभा सचिवालय व्यवस्थापन र मर्मतसम्भारका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालय, जनकपुरलाई संघीय सरकारले १५ करोड रुपैयाँ दिएको थियो । जनकपुर चुरोट कारखानामा प्रदेश सरकारको मन्त्रालय, निवास र प्रदेश प्रमुख कार्यालय र निवास छ । जापान सरकारको सहयोगमा जनकपुरको कुवारामपुरस्थित शैक्षिक तालिम केन्द्रमा प्रदेशसभा सचिवालय छ ।


प्रदेश सरकार मन्त्रालय र निवास, प्रदेश प्रमुख कार्यालय र निवास तथा प्रदेशसभा सचिवालय व्यवस्थापन र मर्मतसम्भारमा १५ करोड रुपैयाँ खर्चिए पनि रकम भुक्तानीका लागि तारन्तार ताकेता आएपछि प्रदेशसभा बैठकमा यो विषय प्रवेश पाएको थियो । प्रदेशसभाको पछिल्लो बैठकमा सांसदहरूले प्रादेशिक सरकार र प्रदेशसभा सचिवालयको व्यवस्थापन र मर्मतसम्भारको भुक्तानी बाँकी रहेकाले छानबिनका लागि संसदीय समिति गठन माग गरेका थिए ।


सभामुख सरोजकुमार यादवले बिहीबारको संसद् बैठकमा छानबिनका लागि उपसभामुख उपमा देवको संयोजकत्वमा विशेष संसदीय छानबिन समिति गठन गर्ने प्रस्ताव राखेपछि सर्वसम्मतले स्वीकृत गरेको छ । समितिमा संघीय समाजवादी फोरमका सांसद बच्चा राउत, राष्ट्रिय जनता पार्टी (राजपा) का रमेश कुर्मी, नेकपाका सत्रुधन महतो, कांग्रेसका शिवचन्द्र चौधरी, नेकपाका रामकुमार यादव, नेपाल संघीय समाजवादी पार्टीकी सावित्रीदेवी साह र प्रदेशसभा सचिवालय उपसचिव रञ्जित यादवलाई राखिएको छ ।


संसदीय विशेष छानबिन समितिले प्रादेशिक सरकार व्यवस्थापन र मर्मतसम्भारमा भएको खर्चको अध्ययन गरेर अनियमितता भए/नभएको प्रतिवेदन प्रदेशसभा सचिवालयमा पेस गर्नेछ । सभामुख यादवले छानबिन समितिलाई प्रदेश सरकारको मन्त्रालय र निवास, प्रदेश प्रमुखको कार्यालय र निवास तथा प्रदेशसभा सचिवालयको कार्यालय व्यवस्थापनमा भएको खर्चको अध्ययन गरेर प्रतिवेदन बुझाउन अधिकार दिएको छ ।


प्रदेशसभा सचिवालयका अनुसार संसद् बैठक कक्षमा रहेको माइक र सचिवालय रङरोगनको भुक्तानी बाँकी रहेको र कारोबारीले दैनिकजसो ताकेता गरिरहेको छ । ‘प्रदेशसभा सचिवालय व्यवस्थापनको सबै काम सहरी विकास डिभिजन कार्यालयले गरेको थियो,’ प्रदेशसभा सचिवालयका एक अधिकारीले भने, ‘हाम्रो अधिकार क्षेत्रमै नरहेको भुक्तानीका लागि ताकेता आइरहेको छ ।’ उनका अनुसार सहरी विकास तथा भवन डिभिजनले बक्यौता रहेको रकम भुक्तानीका लागि कारोबारीलाई बिलसहित प्रदेशसभा सचिवालयमा पठाएको छ ।


प्रदेश कार्यपालिका र व्यवस्थापिका कार्यालय र निवासको व्यवस्थापन र मर्मतसम्भार गत माघदेखि थालिएको थियो । त्यतिबेलाका सहरी विकास तथा भवन डिभिजन कार्यालय, जनकपुरका प्रमुख गंगाप्रसाद यादवले संघीय सरकारबाट आफ्नो कार्यकालमा ७ करोड रुपैयाँ आएको र त्यो सबै भुक्तानी भइसकेको दाबी गरे । ‘प्रादेशिक सरकार र प्रदेशसभा व्यवस्थापन र मर्मतसम्भारका लागि संघीय सरकारबाट कति बजेट आयो, त्यो नै गुपचुप राखिएको छ,’ संसदीय छानबिन विशेष समिति एक सदस्यले भने, ‘कहिले १५ करोड त कहिले ७ करोड भन्छन्, यकिन रकम कति आयो र कहाँ कति खर्च भयो ? त्यो डाटा नै छैन ।’


त्यतिबेलाको सहरी विकास तथा भवन डिभिजन कार्यालय संघीय आयोजना कार्यान्वयन इकाइमा परिणत भइसकेको छ । इकाइका जनकपुर प्रमुख प्रदीपकुमार सिंहले प्रदेशको कार्यपालिका र व्यवस्थापिकाको व्यवस्थापनका लागि ५ करोड रुपैयाँ संघीय सरकारबाट आएको र त्यो सबै रकम भुक्तानी भइसकेको दाबी गरे । ‘प्रदेशसभा सचिवालयमा लगाइएको माइकको हामीसँग सम्झौता नै छैन,’ उनले भने । उपसभामुख देवको संयोजकत्वमा रहेको संसदीय विशेष छानबिन समितिले आव ०७४/७५ मा निर्वाचन क्षेत्र विकास बजेटअन्तर्गत प्रत्येक प्रदेश सांसदले खर्च गरेको १० लाख रुपैयाँको समेत छानबिन गर्ने अधिकार पाएको छ । प्रदेश २ को सरकारले अघिल्लो आवमा १ सय ७ सांसदलाई निर्वाचन क्षेत्र विकास बजेटअन्तर्गत जनही १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । जेठको अन्त्यतिर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सांसदले बुझेको १० लाख रुपैयाँ मनपरी खर्च भएको आशंकामा छानबिन थालिने भएको हो ।


सुशासन विधेयकमा छलफल
प्रदेशसभाको बिहीबार बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विचार गर्नका लागि प्रस्तुत गरेको सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था
गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

समाचार

बर्दिबास डेंगुको उच्च जोखिममा

- कान्तिपुर संवाददाता

महोत्तरी (कास)– वर्षायाम सकिएलगत्तै महोत्तरीको उत्तरी भेगमा डेंगु फैलने स्वास्थ्यकर्मीले बताएका छन् । बर्दिबास २ मा २ जना डेंगु प्रभावित भेटिएपछि बर्दिबास डेंगुको ‘हाइरिस्क’ मा रहको स्वास्थ्यकर्मीले जनाए । प्रभावितको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
गतवर्ष पनि बर्दिबास, गौशालालगायत उत्तरी भेगमा डेंगु फैलिएको थियो । गत असोज तेस्रो साता सबैभन्दा अघि स्वास्थ्यकर्मी महेन्द्र साहको शरीरमा फेला परेको डेंगुबाट बर्दिबासमा मात्रै ८ सय ४७ पीडित भएको जिल्ला स्वास्थ्यले जनाएको छ । जिल्ला स्वास्थ्य प्रमुख डा. राजीव झाका अनुसार एकपटक प्रभावित भइसकेको क्षेत्रमा यसको प्रकोप थप जटिल हुन सक्ने सम्भावना रहन्छ । ‘गत वर्ष नै डेंगुबाट आक्रान्त बर्दिबासमा यसलाई दोहोरिन नदिन सबैको प्रयास आवश्यक छ,’ डा झाले भने । बर्दिबास नगरपालिकाले डेंगुलाई फैलन नदिन स्वास्थ्यकर्मी सल्लाहअनुसारको प्रयास सुरु गरेको छ । नगर प्रमुख विदुर कार्कीले यसका लागि जागरुकता अभियान र सरसफाइमूलक कार्यक्रम ल्याएको जनाए ।

 

समाचार

जहाज भाडा: जाँदा ३, फर्किंदा १० हजार

- ठाकुरसिंह थारू
नेपालगन्ज–कर्णाली उडानका लागि नेपालगन्ज एयरपोर्टमा जहाज कुर्दै यात्रु । 

(नेपालगन्ज)- नेपालगन्ज– काठमाडौं आउजाउ गर्न हवाई दूरी एउटै हो । जहाज भाडामा भने धेरै अन्तर छ । दसैं सुरु भएसँगै काठमाडांैबाट घर फर्किने यात्रुको चाप बढेको छ । नेपालगन्जबाट काठमाडौं जाने यात्रु घटेका छन् । यहाँबाट जानेको संख्यामा कमी आएपछि एयरलाइन्स कम्पनीले यात्रु आकर्षित गर्न भाडा घटाएर ३ हजारमा झारेका छन् । तर, फर्किनेको भीड बढेपछि भाडा बढाएर १० हजार ३ सय रुपैयाँसम्म पुर्‍याइएको छ ।


नेपालगन्ज–काठमाडौं दैनिक करिब १० भन्दा बढी उडान छन् । निजी कम्पनीका बुद्ध, सौर्य, श्री र यती एयरलाइन्सले उडान भर्दै आएका छन् । सरकारी नेपाल वायुसेवा निगमको उडान नियमित छैन । यही कारण निजी एयरलाइन्सले हवाई भाडा तोक्ने गरेका छन् । सरकारी जहाज नेपालगन्जका लागि लामो समयसम्म अनियमित छ । चाडपर्वका लागि नियमित उडान गर्ने भन्दै नेपाल वायुसेवा निगमले जहाज नेपालगन्ज ल्याएको थियो । तर, दुई दिनपछि काठमाडौं फर्किएको छ । नेपाल नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले एयरलाइन्स कम्पनीहरूको बिजनेस पोलिसीका आधारमा भाडा तय हुने गरेको बताए । ‘एयरलाइन्सबीच पनि प्रतिस्पर्धा छ । त्यसले पनि भाडा घट्ने, बढ्ने हुन्छ,’ उनले भने, ‘उपभोक्ताले सस्तो खोज्छन् । सस्तोमा सेवा दिने कम्पनीले बढी यात्रु पाउँछन् ।’ उनका अनुसार काठमाडौं र कर्णाली प्रदेशबाट घर फर्किनेको चाप बढेको छ । त्यसैले काठमाडौंबाट हुने हवाई उडानको भाडा एयरलाइन्सहरूले बढाएको उनको तर्क छ ।


बुद्ध एयरलाइन्सका नेपालगन्ज प्रमुख विनीत शाहले भने दसंैका बेला पनि यात्रुको चाप खासै नबढेको बताए । उनले बुद्धको दुई उडान नियमित भइरहेको र भाडामा पनि खासै फरक नरहेको बताए । ‘हाम्रो पहिलेजस्तै दुई उडान नियमित छ,’ उनले भने । नेपालगन्ज–कर्णाली प्रदेशका लागि तारा, सीतालगायत एयरलाइन्सले उडान भर्दै आएका छन् । सीताको एउटा जहाज बिग्रिएर थन्किएको छ । ‘यात्रुको चाप एक्कासि बढेको छ । तर, कर्णालीका लागि जहाज कम परिरहेका छन्,’ ठाकुरले भने, ‘जहाज व्यवस्थापन गर्न समस्या भइरहेको छ ।’ नेपालगन्ज आउन र कर्णाली फर्किने यात्रुको संख्या उस्तै छ । नेपालगन्ज–काठमाडौं राजमार्ग अवरुद्ध हुने कारण हवाई यात्रुको चाप बढेको हो । नेपालगन्ज–काठमाडौं राजमार्ग अवरुद्ध हुँदा लामो समयसम्म यात्रु अलपत्र पर्दै आएका छन् ।


नेपालगन्जबाट काठमाडौं पुग्न दुई दिनसम्म लाग्दा यात्रु जहाज रोज्न बाध्य छन् । हवाई यात्रुको चाप बढेपछि काठमाडौंबाट जहाजको टिकट समयमै पाउन मुस्किल भएको छ । हवाई मार्ग हुँदै नेपालगन्ज काठमाडौं पुग्न ४५ देखि ५५ मिनेटसम्म लाग्छ । तर, राजमार्गबाट जाँदा ४८ घण्टासम्म लाग्ने गरेको छ । राजमार्ग अवरुद्ध नहुँदा नेपालगन्जबाट काठमाडौं पुग्न बढीमा १२ घण्टा लाग्ने बस चालकले बताए । नेपालगन्ज–काठमाडौं एकतर्फी भाडा १ हजार ५ सय छ । तर, यात्रुको चाप घटेपछि यातायातकर्मीले भाडामा प्रतिस्पर्धा गर्दै १ हजारदेखि १ हजार २ सय रुपैयाँ भाडा लिन थालेका छन् । भेरी अञ्चल यातायात व्यवसायी समितिका कार्यवाहक अध्यक्ष शोभाकर पौडेलले चाडपर्वका बेला यात्रु नबढेका कारण सवारी नथपेको बताए । गत वर्ष समितिले नेपालगन्ज–काठमाडांैका लागि सवारीसाधन थपेको थियो ।

Page 16
विदेश

अमेरिकामा ८० वर्षयताकै विनाशकारी आँधी

३ को मृत्यु, लाखौं प्रभावित
- कान्तिपुर संवाददाता
अमेरिकाको फ्लोरिडा राज्यमा माइकल आँधीले प्रभावित घर । तस्बिर : रोयटर्स

फ्लोरिडा (रोयटर्स/बीबीसी)– अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रमा आएको बिनाशकारी आँधी बिहीबार साँझ साउथ क्यारोलिना पुगेको छ । अधिकारीले हालसम्म ३ जनाको मृत्यु भएको जनाएका छन् । माइकल नामक आँधीले फ्लोरिडा तथा नजिकका राज्यमा व्यापक क्षति पुर्‍याएको हो । अमेरिकी सञ्चारमाध्यमले आँधीका कारण तटीय क्षेत्रमा २ सय ६० किलोमिटर प्रतिघण्टाको बेगको हावाहुरी चलेको जनाएका छन् । विभिन्न स्थानमा तीव्र आँधीले सामुद्रिक छाल बढेकाले बाढीको चेतावनी दिइएको छ ।


अधिकारीहरूले माइकल नामको आँधी ‘क्याटगोरी ४’ अर्थात निकै शक्तिशालीको सूचीमा राखेका छन् । माइकल अमेरिकामा ८० वर्षयताकै शक्तिशाली आँधी भएको जनाइएको छ ।
आँधीले फ्लोरिडा राज्यको उत्तर–पश्चिमी क्षेत्र प्यानह्यान्डल सबैभन्दा बढी प्रभावित भएको छ । अधिकारीहरूका अनुसार ७ लाखभन्दा बढी घर तथा व्यावसायिक भवनमा विद्युत् आपूर्ति बन्द भएको जनाएका छन् । लाखांै मानिसलाई सुरक्षित स्थानतर्फ जान चेतावनी जारी गरिए पनि कतिपयले अटेर गरिरहेका छन् ।


अमेरिकाको राष्ट्रिय हरिकेन सेन्टरले फ्लोरिडाको पनामा सिटी बिच र केटन बिच तथा नर्थ क्यारोलिनाको ओक्राको इनलेट र डक क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान चेतानवी दिइएको जनाएको छ । सेन्टरका अनुसार अलाबामा राज्यका केही स्थानमा समेत क्षति पुगेको छ ।


फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले ‘अकल्पनीय विध्वंस’ भएको बताएका छन् । उनले हाल घरमै रहिरहेका मानिसलाई ‘ढिला भएको भन्दै अब भने बाहिर ननिस्कन’ आग्रह गरेका छन् ।


उनले स्कुल तथा राज्यका कार्यालय एक सातासम्म बन्द रहने घोषणा गरे । स्कटले फ्लोरिडाले ३ हजार ५ सय नेसनल गार्ड उद्धारका लागि परिचालन गरिएको जनाए । उनले फ्लोरिडा राज्यमा ‘आपतकाल’ घोषणा गरेका छन् । छेउछाउका एलाबामा तथा जोर्जिया राज्यले पनि त्यस्तै स्थितिको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा बाढी तथा हुरीले विनाश गरेका घर, भवन तथा संरचनाका तस्बिर सार्वजनिक गरिएका छन् ।


संघीय प्रकोप व्यवस्थापन निकायका निर्देशक ब्रक लंकले राष्ट्रपतिलाई उनी खासगरी सन् २००१ भन्दा अगाडि निर्माण गरिएका भवनप्रति चिन्तित रहेको बताए । ती भवनहरूले ‘क्याटगोरी ३’ भन्दा शक्तिशाली आँधी थेग्न नसक्ने जनाइएको छ ।


राष्ट्रपति कार्यालय हाइटहाउसले पनि ती संरचनाबारे चिन्ता व्यक्त गरेको छ । ‘हामी ती संरचनाले आँधी थेग्न सक्छन् भन्ने आशा गर्छांै,’ राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ।

विदेश

सामुद्रिक आँधीका कारण पूर्वी भारतमा ८ को मृत्यु

- कान्तिपुर संवाददाता
भारतको आन्द्रप्रदेशमा आएको आँधीपछि सुरक्षित स्थानतर्फ जाँदै गरेका स्थानीय । तस्बिर : रोयटर्स

नयाँदिल्ली (एजेन्सी)– भारतका पुर्वी राज्य उडिसा र आन्द्र प्रदेशमा विहीबार आएको सामुद्रिक आँधीका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै आन्द्र प्रदेशका हुन् ।
आँधीका कारण हजारौं घरहरू ध्वस्त भएका छन् । १ सय ५० किलोमिटर प्रतिघण्टाको हावाहुरीका कारण उडिसा र आन्द्र प्रदेशका तटीय क्षेत्रमा आएको तितली नामक आँधीपछि कम्तीमा ३ लाख मानिसहरू विस्थापित भएका छन् ।


अधिकारीहरूले आँधी प्रभावित क्षेत्रमा यातायात तथा अवरुद्ध भएको जनाए । आन्द्र प्रदेशको श्रीकाकुलम जिल्लाका प्रमुख के धनन्जय रेड्डीले भने, ‘करिब ६ देखि ७ हजार विजुलीका पोल ढलेका हुनसक्ने डर लागेको छ ।’ उनले ‘४ देखि ५ लाख मानिसहरू विजुलीबिना बस्न बाध्य
भएको’ बताए ।


अधिकारीले उडिसाका शैक्षिक संस्थाहरू एक साताका लागि बन्द हुने जनाएका छन् । करिब १ हजार २ सय जनालाई अस्थायी शिविरमा राखिएको छ । भारतको पूर्वी क्षेत्र तथा बंगलादेश पटक–पटक सामुद्रिक आँधीको चपेटामा पर्ने गरेका छन् ।

विदेश

जमाल खसोग्गी हत्या प्रकरण : ‘सीसीटीभी फुटेज सार्वजनिक गर’

- कान्तिपुर संवाददाता
जमाल खसोग्गीको हत्याबारे छानबिनको माग गर्दै टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको कन्सुलेट कार्यालयअगाडि गरिएको विरोध ।

इस्तानबुल (एजेन्सी)– टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले साउदी अरबसँग पत्रकार तथा लेखक जमाल खसोग्गीले इस्तानबुलस्थित कन्सुलेट कार्यालयबाट बाहिरिएको पुष्टि गर्ने दृश्य सार्वजनिक गर्न माग गरेको छ ।


इर्दोगानले ‘कन्सुलेट कार्यालयमा भएको प्रविधिले चरा उडेको वा मच्छड घुमेको समेत देखिने’ दाबी गर्दै दृश्य सार्वजनिक गर्न माग गरेका हुन् । उनी टर्कीस्थित साउदी कन्सुलेट कार्यालयबाट गत २ अक्टोबरदेखि बेपत्ता छन् । साउदी अरबले उनी कार्यलयबाट त्यसै दिन बाहिरिएको बताउँदै आएको छ ।


इर्दोगानले कार्यालयमा भएका सीसीटीभी दृश्य सार्वजनिक गर्न माग गरेको टर्कीको दैनिक अखबार हुरियतले उल्लेख गरेको छ । ‘हामीले यसबारे अनुसन्धान गरिरहेका छौं,’ उनले बिहीबार भने, ‘हाम्रो भूमिमा भएको यसप्रकारको घटनामा हामी चुप बस्न सक्दैनौं ।’


टर्कीले खसोग्गीको कन्सुलेट कार्यालय परिसरमा हत्या गरिएको दाबी गर्दै आएको छ । तर साउदी अरबले भने उक्त आरोप अस्वीकार गर्छ ।


यसअघि, खसोग्गीको हत्यामा साउदी सरकार संलग्न रहेको अमेरिकी अखबार न्यूयोर्क टाइम्सको पनि दाबी छ । न्यूयोर्क टाइम्समा प्रकाशित समाचारमा खसोग्गीको हत्या गर्न साउदीले आक्रमणकारी दस्ता खटाएको उल्ल्ेख छ ।


अमेरिका तथा बेलायतले खसोग्गी घटनाको पारदर्शी अनुसन्धानका लागि साउदी अरबलाई दबाब दिएका छन् । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बुधबार घटनाको अनुसन्धान गर्न साउदी अरब तयार रहे एफबीआई टिम पठाउने बताएका थिए ।


साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खसोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए ।


यसअघि खसोग्गी साउदी राजपरिवारका सल्लाहकारका रूपमा समेत कार्य गरेका थिए । तर साउदी अरबमा प्रेस स्वतन्त्रतामा कडाइ गरिएपछि एक वर्षअघि उनले देश छाडेका थिए ।

विदेश

‘मानसिक रोग विश्वकै समस्या’

- नवीन पोखरेल

 (लन्डन) - बेलायत सरकार, विश्व स्वास्थ्य संगठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी संगठनको संयुक्त आयोजनामा लन्डनमा मानसिक स्वास्थ्यसम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन सम्पन्न भएको छ । ९ देखि १० अक्टोबरसम्म चलेको सम्मेलन ’एक्काइसौं शताब्दीमा मानसिक स्वास्थ्यमा समानता प्राप्तिको लक्ष्य निर्दिष्ट विश्व घोषणा’ जारी गर्दै सम्पन्न भएको छ ।


उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादव सम्मेलनमा सहभागी थिए । सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्दै उनले ‘मानसिक स्वास्थ्य समस्या अल्पविकसित र विकासोन्मुख राष्ट्रहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको’ बताए ।


निम्न तथा मध्यम आय भएका मुलुकका हरेक ५ मध्ये एकमा मानसिक रोगको समस्या रहेको उल्लेख गर्दै यादवले दक्षिण एसिया क्षेत्रको कुल जनसंख्याको २० प्रतिशत मानसिक रोगबाट ग्रसित रहेका जनाए । नेपाल पनि मानसिक रोगको समस्याबाट अलग छैन भन्दै यादवले अशिक्षा, बेरोजगारी, बसाइँसराइ, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरिबीका कारण नेपालमा मानसिक रोगीहरूको संख्या दिनानुदिन बढिरहेको विचार व्यक्त गरे ।


नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा अंगीकार गरेको उल्लेख गर्दै यादवले नेपाल सरकार न्यूनतम व्ययमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको र मानसिक रोगको उपचारको सरलीकरणमा विशेष ध्यान दिएको दाबी गरे । विश्व सम्मेलनको पहिलो दिन मन्त्री यादवले सम्मेलन आयोजक समितिका अध्यक्ष टिम केन्डलसँग शिष्टाचार भेट गरी मानसिक रोगको निदानमा द्विपक्षीय सहयोग सम्बन्धमा वार्ता गरेका थिए ।


यसैबीच, उपप्रधानमन्त्री यादव बुधबार बेलायती प्रधानमन्त्री टेरेजा मेले १० डाउनिङस्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको स्वागत समारोहमा समेत सरिक भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

Page 17
अर्थ वाणिज्य

‘आर्थिक चलखेलमा सरकारको निर्णय’

चिनीबारे संसदीय समितिको निष्कर्ष
चिनी आयातमा लगाइएको बन्देज हटाउन सुझाव
थप छलफल गरी सरकारलाई निर्देशन दिन्छौं : समिति सभापति
- राजु चौधरी

 (काठमाडौं) - चिनी आयातको परिमाणत्मक बन्देज लगाउने सरकारी निर्णय उद्योगीहरूको अनुचित प्रभाव र आर्थिक चलखेलमा भएको संसदीय अध्ययन समितिले निष्कर्ष निकालेको छ ।
संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले ‘चिनी उद्योगीहरूको अनुचित प्रभावमा परी आयातमा पूर्ण बन्देज’ र ‘बजारका १२ चिनी उद्योगको कार्टेलिङ हुने गरी करोडौं आर्थिक अनियमितता गरेको’ निष्कर्ष निकालेको हो ।


पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री तथा सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले बिहीबार समितिका सभापति भरतकुमार शाहलाई उक्त प्रतिवेदन बुझाएको छ । चिनीको मूल्यमा भएको अनियमितता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्ने सुझाव उपसमितिले पेस गरेको छ । मन्त्रिपरिषद् बैठकले गत महिना स्वदेशी उद्योग प्रवद्र्धनको नाममा वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि चिनीको मूल्य अस्वाभावितक रूपमा अकासियो । यसबारे लेखा समितिले छानबिन गर्न उपसमिति गठन गरेको हो । उपसमितिले यो निर्णय प्रक्रियामा सरकारले गरेका कमजोरीलाई उजागर गरेको छ ।


‘२०७५ वैशाखमा चिनी उद्योगले प्रतिकिलो ५३ रुपैयाँ (भ्याटबाहेक) मा बिक्री गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुगमन प्रतिवेदनले देखाएको छ । स्टक चिनी बिक्री गर्दा बजार मूल्य प्रतिकिलो ६३ रुपैयाँभन्दा कम पर्ने स्थिति हुँदाहुँदै अर्थ मन्त्रालयल, सम्बन्धित मन्त्रालयहरू र मातहतका विभागहरू चिनी उद्योगीहरूको अनुचित प्रभावमा परी आयातमा पूर्ण बन्देज लगाउन पुगेको देखिन्छ,’ उपसमितिको अध्ययन प्रतिवेदनमा भनिएको छ । यो काम १२ वटा उद्योगको कार्टेलिङका लागि गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


‘बजारमा १२ वटा निजी उद्योगको कार्टेलिङ हुने गरी करोडौं आर्थिक अनियमितता गरेको देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ । सरकारका उच्च अधिकारीहरूसहितको मिलेमतोमा मूल्यसमेत अत्यधिक कायम गरिएको प्रतिवेदनले औंल्याएको छ । ‘२०७५ भदौ २१ गते प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, सरकारी पदाधिकारीहरू, उखु किसान र चिनी उद्योग संघका प्रतिनिधिबीच भएको समझदारी कार्यान्वयन नगरी,’ प्रतिवेदनमा भनिएको छ, ‘हचुवाका भरमा ७० रुपैयाँ बजार मूल्य कायम गर्न लगाई बिक्री गर्न अनुमति दिएकामा ठूलो आर्थिक अनियमितता देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिनुपर्ने ठहर छ ।’


चिनी विवाद सतहमा आएपछि सरकारले प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरेको थियो । त्यसको भोलिपल्ट लेखा समितिले ६३ रुपैयाँ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको थियो । समितिको बैठकमा सांसद भट्टले चिनी प्रकरणमा १ अर्ब ६९ करोड रुपैयाँ अर्थिक चलखेल भएको आरोप लगाएका थिए । उपसमितिले चिनीको खुद्रा मूल्य उपभोक्तासम्म अधिकतम मूल्य ६३ कायम गरी बिक्री गर्न उपयुक्त देखिएकाले पुन: सरकारलाई निर्देशन दिनसमेत सुझाव दिएको छ । मूल्य विश्लेषण, निधार्रण, नियन्त्रण र नियमनका लागि तत्काल निर्देशन तयार गरी लागू गर्ने सुझाव पनि छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत अधिकार सम्पन्न उपभोक्ता संरक्षण विभाग गठन गरी काम अघि बढाउन सुझाव दिएको छ ।


गैरकानुनी रूपमा उखु पैठारी गर्ने कार्यमा कडाइ गरी नेपाली किसानहरूको उखु समयमै उद्योगमार्फत खरिद गर्ने व्यवस्था र अवैध ओसारपसार नियन्त्रण तथा निगरानी गर्न निर्देशन दिने सुल्झाएको छ । उखु किसानले पाउने अनुदान रकम तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउने, अत्यावश्यक उपभोग्य वस्तुम जस्तै चिनीमा लाग्ने भ्याट हटाउन अध्ययन अनुसन्धान गरी निर्णय लिन पनि सुझाव दिएको छ । चिनी मिलहरू सञ्चालनमा रहे नरहेको यकिन गरी चिनीको मौज्दात, उखुको परिमाण गुणस्तर मापदण्ड तयार गर्दै नियमित बजार विश्लेण गरी आवश्यक परिमाणमा आपूर्ति व्यवस्था मिलाउने पनि सुझाव दिएको छ ।


उखुको भुक्तानी समस्या, अस्थिर चिनी बजार र अनियन्त्रित मूल्यको पुनरावृत्ति हुन नदिन आगामी वर्षको उत्पादन, माग र वितरणको प्रक्षेपण गरी आवश्यक रणनीति तय गर्ने पनि सुझाव दिएको छ । समयमै भुक्तानी नगर्ने अवस्थामा चिनी उद्योगलाई जरिवाना तथा कारबाही गर्ने नीति लिन पनि प्रतिवेदनले सुझाव दिएको छ ।


यस्तै अर्थ, कृषि विकास तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, गृह र सरोकारवाला पक्षका प्रतिनिधि रहने गरी कृषि विकास तथा चिनी बोर्ड गठन गर्नुपर्ने सुझाव पनि समितिले दिएको छ । संघीय सरकार, प्रदेश, स्थानीय सरकार र अन्य सामाजिक संघसंस्थाहरूका प्रतिनिधिहरूको सहभागितामा निरन्तर बजार अनुगमन गर्न तत्काल निर्देशन दिने व्यवस्था मिलाउनुर्पे सुझाव छ । संघीय सरकार मातहत कर्मचारी तत्काल थप गरी नियमन प्रभावकारी बनाउने पनि भनिएको छ । समितिका सभापति शाहले प्रतिवेदनमाथि थप छलफल गरेर कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिने बताए ।

अर्थ वाणिज्य

अर्थ र ऊर्जामा विश्व बैंकको २३ अर्ब

- कान्तिपुर संवाददाता

(काठमाडौं) - विश्व बैंकले अर्थ र ऊर्जा क्षेत्र सुधारका लागि नेपाललाई करिब २३ अर्ब रुपैयाँ (२० करोड डलर) सहायता दिने भएको छ ।


इन्डोनेसियाको बालीमा जारी विश्व बैंकको वार्षिक बैठकमा सम्झौतामा हस्ताक्षर भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले अर्थ क्षेत्रको सुधार आर्थिक वृद्धिका लागि उत्प्रेरक हुने बताए । उनले ऊर्जा क्षेत्रमा गरिएको सुधारका कारण आगामी १० वर्षमा १५ हजार विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई सघाउने बताए ।


विश्व बैंक र सरकारबीच दुई क्षेत्र सुधारका लागि सहायता लिने गरी दुई सम्झौतामा हस्ताक्षर भएको हो । चौथो आर्थिक क्षेत्र स्थायित्व विकास नीति सम्झौताअन्तर्गत बैंकले सरकारलाई करिब ११ अर्ब ७० करोड रुपैयाँ सहायता दिने भएको हो । सन् २०१३ देखि बैंकले नेपाललाई आर्थिक क्षेत्र सुधारका लागि सहयोग गर्दै आएको छ ।


यो सहायता कानुनी र नियमनकारी प्रारूप, आर्थिक क्षेत्रको सुरक्षणजस्ता कामका लागि प्रयोग गरिनेछ । आर्थिक र ऊर्जा क्षेत्र सुधारको लागि दिइएको सहायताले यी क्षेत्रको विकास र जोखिम न्यूनीकरणमा भूमिका खेल्ने विश्व बैंकको नेपाल, बंगलादेश, भुटानका लागि निर्देशक क्विमियाओ फानले बताए ।


दोस्रो सम्झौताअनुसार ऊर्जा क्षेत्र सुधारका लागि ११ अर्ब ७० करोड रुपैयाँ नेपाललाई प्रदान गर्छ ।


ऊर्जा क्षेत्रमा प्रमुख नीति, नियमन र संस्थागन मापनका लागि यो सहायता प्रयोग हुने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै यो सहायताले शत प्रतिशत जनतामा विद्युत् पुर्‍याउने सरकारी लक्ष्य हासिलका लागि समेत प्रयोग हुनेछ । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका क्विमियाओ फानले हस्ताक्षर गरेका हुन् ।

अर्थ वाणिज्य

बैंकहरूले बचतको ब्याजदर घटाउने

ब्याजदरमा ‘सिन्डिकेट’ गरेको आरोप लागिरहे पनि बैंकर्ष संघले पटकपटक यस्ता सहमति गर्दै आएको छ
हाम्रो उद्देश्य ब्याजदर धेरै माथि नजाओस्, वाञ्छित सीमामै रहोस् भन्ने हो : बैंकर्ष
- यज्ञ बञ्जाडे

 (काठमाडौं) - बैंकर्स संघले अघिल्लो सहमति तोड्दै निक्षेपको व्याजदर घटाउने भएका छन् ।
संघको बिहीबारको बैठकले मुद्दती निक्षेपमा संस्थाहरूलाई ९ प्रतिशत र सर्वसाधारणलाई १० प्रतिशतभन्दा धेरै ब्याज नदिने सहमति गरेको हो । असार पहिलो साताबाट संस्थाहरूलाई साढे १० र सर्वसाधारणलाई ११ प्रतिशत ब्याज दिँदै आएका थिए । यसअघि ब्याज नबढाउन ‘भद्रसहमति’ गरेका वाणिज्य बैंकहरूले अहिले निक्षेपको ब्याजदर घटाउने सहमतिमा पुगेका हुन् ।


नयाँ निर्णय शुक्रबारदेखि नै लागू हुनेछ । बैंकहरूले संस्थालाई ९ र सर्वसाधारणलाई १० प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । राष्ट्र बैंकको निर्देशनअनुसार संस्थागत निक्षेपकर्तालाई प्रकाशित ब्याजदरमा बढीमा एक र सर्वसाधारणलाई ०.५ प्रतिशत विन्दुसम्म ब्याजदर बढाउन पाउँछन् । यो व्यवस्थाअनुसार शुक्रबारदेखि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा संस्थालाई १० प्रतिशतसम्म र सर्वसाधारणलाई साढे १० प्रतिशतसम्म ब्याज दिनेछन् । तर, बैंकहरूले यो सुविधा सबै ग्राहकलाई दिँदैनन् । यो सुविधा केही ठूला र पहुँचवाला ग्राहकका लागि मात्र हो ।


दुई सातायता बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अभाव हुन थालेको छ । अधिकांश बैंकहरूको कर्जा र निक्षेप तथा पुँजी (सीसीडी) अनुपात ८० प्रतिशत नजिक पुग्न थालेको छ । यही अवस्थामा बैंकर्स संघको बैठक बसेकाले बैंकरहरूले ब्याजदर बढाउने वा यसअघिको ‘भद्र सहमति’ तोडिने अनुमान गरिएको थियो । तर, बैठकमा बैंकहरूले निक्षेपको ब्याजदर घटाउने सहमति गरे ।


राष्ट्र बैंक र अर्थ मन्त्रालयको अनौपचारिक संरक्षणमा संघले उक्त सहमति गरेको हो । ‘योपटक पनि केही बैंकहरूले सहमति तोडे । तर, ती बैंकहरूलाई पनि सहमति नतोड्न आग्रह गरिएको छ,’ एक बैंकरले भने, ‘अहिले नियामक निकायको संरक्षण पाएर संघ बलियो बनेको छ ।’ गत साता मात्र एक बैंकले संघको सहमतिभन्दा बढी साढे ११ प्रतिशतमा एउटा संस्थाको निक्षेप उठाएको छ । यो विषयमा पनि संघको बैठकमा छलफल भएको थियो ।


यसपालिको सहमतिमा पनि बैंकले व्यक्तिगत निक्षेपकर्तालाई केही प्राथमिकता दिएको देखिन्छ । बैंकलाई ब्याजदरमा ‘सिन्डिकेट’ गरिरहेको आरोप लागिरहेको समयमा संघले पटकपटक यस्तो सहमति गर्दै आएको छ । विगतमा हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा पनि उनकै निर्देशनमा बैंकहरूले ब्याजदर नबढाउने ‘भद्र सहमति’ गरेका थिए ।
यसैगरी नयाँ सहमतिअनुसार बैंकहरूले साधारण निक्षेपकर्तालाई ५ देखि ७ प्रतिशत ब्याज दिने विषयमा पनि बैंकहरूबीच सहमति भएको छ । यसअघि साधारण बचतमा ७ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति थियो । नयाँ व्यवस्थाले ५ प्रतिशतको तल्लो सीमा पनि तोकेको हो । यो निर्णयले यसअघि ७ प्रतिशत ब्याज दिइरहेको बैंकहरूले पनि ब्याजदर घटाएर ५ प्रतिशतसम्म झार्न बाटो खुलेको छ । बैंकहरूले त्यसो गरेको खण्डमा त्यसको मार निक्षेपकर्तालाई पर्नेछ ।


बैंकहरूमा लगानीयोग्य रकमको अभाव हुन थालेकाले ब्याजदर बढ्न थालेपछि नियन्त्रणका लागि पुन: भद्र सहमति गरिएको बैंकर्स संघका पूर्वअध्यक्ष अनीलकेशरी शाहले बताए । ‘हाम्रो उद्देश्य ब्याजदर धेरै माथि नजाओस्, वाञ्छित सीमामै रहोस् भन्ने हो,’ उनले भने, ‘यसकारण मुद्दती निक्षेपमा संस्थालाई ९ र सर्वसाधारणलाई १० प्रतिशत ब्याजदर तोक्ने निर्णय भएको छ ।’ बजारमा बैंकहरूबीच ब्याजदर वृद्धिको प्रतिस्पर्धा हुने सम्भावना देखिएकाले उक्त निर्णय भएको उनको भनाइ छ । ‘यो निर्णयले समग्र अर्थतन्त्रलाई नै फाइदा हुन्छ,’ उनले भने ।


चालु आर्थिक वर्षको सुरुमा तरलता धेरै रहेकाले तीन पहिलो त्रैमास (०७५ असोज) पछि ब्याजदर घट्ने अनुमान गरिएको थियो । बैंकहरूहरूले पनि सार्वजनिक रूपमै पहिलो त्रैमास पनि थोरै धेरै भए पनि ब्याजदर घट्ने बताउँदै आएका थिए । तर, पछिल्ला दुई सातायता वित्तीय प्रणालीमा अनपेक्षित प्रवृत्ति देखिएको छ । बैंकहरूले तरलता (लगानीयोग्य रकम) अभाव रहेको बताउँदै आएका छन् । बैंकहरूको सीसीडी अनुसार निर्देशित सीमा (८० प्रतिशत) नजिक पुग्न थालेको छ । स्रोतका अनुसार बिहीबारसम्म वाणिज्य बैंकहरूको औसत सीसीडी अनुपात ७८ देखि ७९ प्रतिशतबीचमा छ । तीमध्ये आधादर्जन बैंकहरूको सीसीडी अनुपात ८० प्रतिशतको सीमा नाघेको छ । तर, उद्योगी व्यवसायीहरूले भने बैंकको प्रवृत्तिमा आशंका गरेका छन् । उनीहरूसँग सामान्य बिजनेस प्लान पनि नभएको उनीहरूको आरोप छ । ‘दुई साताअघिसम्म ऋण गएन भन्दै ऋणी खोज्ने, आज आएर लौ तरलता अभाव भयो भन्ने ?’ उनले भने, ‘एक–दुई साताको बिजनेस प्लान गर्न नसक्नेले किन बैंक चलाएर बसेका होलान् ।’


‘बिहीबारको बैठकमा ६ वटा बैंकहरूले हामीलाई अप्ठयारो भयो । सीसीडी अनुपातले सीमा नाध्यो भनेर समस्या राखेका थिए,’ बैठकमा सहभागी एक बैंकरले भने, ‘करिब ८ देखि १० वटा बैंकहरूले ऋण प्रवाह रोकेको बताएका छन् ।’


सीडीडीमा दबाब परेपछि निक्षेपको ब्याजदर बढाउनुको साटो कर्जा प्रवाह रोक्न बैंकहरूलाई सुझाव दिएको संघका पूर्वअध्यक्ष शाहले बताए । ‘निक्षेपको ब्याजदर बढाउँदैमा एक्कासि ठूलो निक्षेप आउँदैन,’ उनले भने, ‘यसकारण ब्याजदर वृद्धि समस्याको समाधान होइन । यस्तो अवस्थामा ऋण प्रवाहमा कमी ल्याउने विवेकशील निर्णय हो ।’


बैठकमा केही बैंकहरूले सीसीडीले निर्देशित सीमा नाघेको बताएपछि तीनको समस्या समाधान गर्न ठूला बैंकहरूले ऋण खरिद गरिदिने (स्वाप) गर्ने विषयमा पनि छलफल भएको शाहले बताए । ‘कुनै बैंकहरूलाई समस्या छ भने म आबद्ध नबिल बैंक ऋण खरिद गर्न तयार छ,’ उनले भने । मनपरी रूपमा ब्याज बढाउने त्यसको असर सबैतिर पर्ने भएकाले संयमित भएर व्यवसाय गर्न बैंकहरूलाई आग्रह गरिएको उनले बताए ।

अर्थ वाणिज्य

बझाङमा १० वर्षपछि जहाज

- वसन्तप्रताप सिंह
बझाङ विमानस्थलमा अवतरण गरेको नेपाल वायु सेवा निगमको जहाज ।
तस्बिर : वसन्तप्रताप/कान्तिपुर

 (बझाङ) - करिब दशकपछि बझाङ विमानस्थलमा हवाईजहाज अवतरण भएको छ । ०६५ देखि बन्द विमान स्थलमा परीक्षण उडानका क्रममा आएको नेपाल वायुसेवा निगमको टिवनअटर जहाजले बुधबार अवतरण गरेको हो ।


नेपालगन्जबाट दिउँसो १२:२४ बजे उडेको ‘नाइन एन एकेयू कलसाइन’ को उक्त जहाज ४५ मिनेट लगाएर बझाङ पुगेको थियो । विमान स्थल नियमित उडान गर्न योग्य छ/छैन भनेर बुझ्न प्राविधिक टोलीसहित आएको जहाज २० मिनेट रोकिएर नेपालगन्ज फर्केको थियो ।
विमान सेवा सुचारु हुनुपर्ने माग राख्दै पटकपटक केन्द्रसम्म धाएका स्थानीय परीक्षण उडानपछि खुसी छन् । सातामा कम्तीमा दुई उडान हुन सके स्थानीयलाई राहत र जिल्लाको पर्यटन प्रवद्र्धन हुने उनीहरूको भनाइ छ ।


०३५ मा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलोपटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमान स्थल ०६५ सम्म चालु थियो । पछिल्लो समय निगमबाहेकका निजी विमान कम्पनीहरूले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्थे । ०६५ मा बझाङ सदरमुकामसम्म बस चलेपछि यहाँ कुनै उडान भएको छैन । ०६६ मा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो ।

Page 18
अर्थ वाणिज्य

काठमाडौंदेखि रारासम्म अफरोड यात्रा हुने

- कान्तिपुर संवाददाता
रमाऊँ रारामा अभियानको घोषणा गर्न राजधानीमा आयोजना गरिएको इम्याजिन नेपालको कार्यक्रम । तस्बिर : कान्तिपुर

 (काठमाडौं) - इम्याजिन नेपालले काठमाडौंदेखि कर्णालीको रारासम्म साहसिक अफरोड यात्रा गर्ने भएको छ । कर्णाली प्रदेशले सञ्चालन गरिरहेको कर्णाली भ्रमण वर्षलाई साइत पारी आयोजना गरिएको यो यात्रा तेस्रो संस्करणको हो । आठदिने उक्त यात्रा मंसिर ६ बाट सुरु हुनेछ ।


गत वर्ष इम्याजिनले मुस्ताङको लोमानथाङ र त्यसअघिको वर्ष मनाङमा सबैभन्दा ठूलो अफरोड यात्राको आयोजना गरेको थियो । एमएन्डएस इभेन्टअन्तर्गतको इम्याजिन नेपालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘रमाऊँ रारामा’ नाराका साथ यसपटको अफरोड यात्रा अभियान सार्वजनिक गरेको हो ।


सहभागीहरू काठमाडौंबाट नेपालगन्ज, कालिकोटको मान्म हँुदै रारा पुग्नेछन् । त्यहाँबाट सुर्खेत, बर्दिया, बुटवल हँुदै काठमाडौं फर्किनेछन् । इम्याजिनले नेपालमा साहसिक यात्रालगायत पर्यटकीय गतिविधि आयोजना गर्दै आइरहेको छ ।


काठमाडौंबाट कम्तीमा २५ वटा अफरोड एसयूभी जिपमार्फत हुने यसपटकको यात्रामा कर्पाेरेटलगायतका क्षेत्रका सय जना सहभागी हुने यात्रा संयोजक सिमोन खत्रीले बताए ।
यात्रामा सहभागिता जनाउनेहरूको खाने, बस्ने, घुम्नेलगायतका पर्यटकीय गतिविधि सबैको खर्च इम्याजिनमार्फत गरिने बताए । यो यात्रामा सहभागिता जनाउनेले ५० हजार शुल्क पनि तिर्नुपर्छ । पश्चिम नेपालतर्फको यो साहसिक यात्रा करिब १ हजार ८ सय किलोमिटर हुने जनाइएको छ ।


यात्रामा सहभागिता जनाउने पर्यटकहरूलाई रारातालमा हाइकिङमा पनि गराउने आयोजकले बताए । नेपालगन्जबाट मात्रै अफरोड यात्रामा निस्कन चाहनेहरूलाई काठमाडौंदेखि हवाईमार्ग हुँदै नेपालगन्जसम्म लगिने एमएन्डएसका सीईओ मोनाइक कार्कीले बताए ।


उनले विगतमा जस्तै यसपटक पनि यात्राको उच्चस्तरको डकुमेन्ट्री बनाइने बताए । ‘हाम्रो उद्देश्य नेपाललाई नेपाली र विश्व समुदायमाझ परिचित गराउने हो,’ सीईओ कार्कीले भने ।
पत्रकार सम्मेलनमा बोल्दै पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले मुलुकमा पछिल्ला दिनमा बढदै गइरहेका फरक पर्यटकीय गतिविधिले विश्व पर्यटन बजारमा नेपालको पहिचान ‘तीव्र गतिको पर्यटन विकास’ हुने मुलुकको सूचीमा परेको बताए ।

अर्थ वाणिज्य

दसैंलगत्तै विद्युत् उत्पादन

रुदी ‘ए’ को परीक्षण सुरु
- कान्तिपुर संवाददाता

(लमजुङ)- कास्की र लमजुङको सीमा रुदी खोलामा निर्माण भएको ८ दशमलव ८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन परीक्षण सुरु गरेको छ । गत शनिबारदेखि परीक्षण थालेको आयोजनाले छिटै विधिवत् उत्पादन थाल्ने जनाएको छ ।


परीक्षण उत्पादनका दुई साता विद्युत् प्राधिकरणलाई नि:शुल्क विद्युत् दिइने आयोजना प्रमुख सरोज भट्टराईले बताए । इन्टेक र पेनस्टक पाइपमा पानी राखेर परीक्षण भइरहेको छ । साताअघि निर्माण सकिएको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल संरचनाको ‘फिनिसिङ’ कार्य भइरहेको छ । ‘फिनिसिङसँगै विद्युत् उत्पादन गरी १ महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्छौं,’ उनले भने । उनका अनुसार नेपाल विद्युत् प्राधिकरणसँग व्यावसायिक विद्युत् उत्पादन मिति (आरसीओडी) को तयारी भइरहेको छ ।


आयोजनाको सिभिलतर्फको काम हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनले निर्माण गरेको हो । हाइड्रो मेकानिकलतर्फ नर्थ हाइड्रो एन्ड इन्जिनियरिङ र इलेक्ट्रो मेकानिकलतर्फ तोसिबा प्लान्ट सिस्टम एन्ड सर्भिस कर्पोरेसनले निर्माण गरेको हो । लमजुङको क्व्होलासोंथर गाउँपालिका ५ सिङदी र कास्कीको मादी गाउँपालिका ८ सिङदीबेंसीमा बाँध (इन्टेक) निर्माण गरिएको छ । ६ किलोमिटर लामो पेनस्टक पाइपमार्फत पानी ल्याएर मादी ९ बालुवाबेंसीमा निर्माण गरिएको विद्युत्गृहबाट विद्युत् निकालिनेछ । विद्युत्गृहमा ४ दशमलव ४ मेगावाटका २ वटा पेल्टन टर्बाइन जडान गरिएका छन् । उत्पादित विद्युत् ३३ केभीको डबल सर्किट ट्रान्समिसन लाइनमार्फत मादी गाउँपालिका ९ मुंग्रीबेंसीस्थित विद्युत् प्राधिकरणको सबस्टेसनमा जोडिनेछ ।


एक वर्ष ढिला
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रवद्र्धित रुदी ‘ए’ आयोजनाको ०६९ माघ २८ मा पीपीए (विद्युत् खरिद बिक्री सम्झौता) भएको थियो । हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसामा पीपीए सम्झौता भएको उक्त आयोजनाको निर्मार्ण कार्य भूकम्प र नाकाबन्दीका कारण ढिला भई ०७४ असार मसान्तभित्र सक्ने प्रक्षेपण गरिएको थियो । ०७३ असारमै बाढीपहिराले निर्माणाधीन आयोजनामा क्षति पुर्‍याएपछि निर्माण लम्बिएको हो । यस्तै स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावले आयोजनाको निर्माण कार्य समयमै हुन नसकेको आयोजनाले जनाएको छ । पछिल्लो समय गत आर्थिक वर्ष (असारभित्रै) सक्ने लक्ष्य लिएकामा वैशाखदेखि निरन्तर असोजसम्म वर्षाले निर्माण समयावअधि लम्बिएको आयोजना प्रमुख भट्टराइले बताए ।


आयोजनामा थपियो लगानीभार
सामान्यतय: विद्युत् निर्माणमा १ मेगावाट बराबर २० करोड लगानी हुन आउँछ । ८ दशमलव ८ मेगावाटको रुदी ‘ए’ आयोजनाको निर्माण लागत १ अर्ब ७६ करोड लगानी हुन आउँछ । १ अर्ब ५० करोडमै निर्माण सक्ने गरी डिजाइन गरिएको उक्त आयोजना विविध कारणले करिब २ वर्ष निर्माण कार्य ढिलाइ हुन जाँदा लगानी भार थपिने आयोजना स्रोतले बताएको छ । आयोजना स्रोतका अनुसार निर्माण कार्य सबै सकिँदासम्म करिब २ अर्ब पुग्ने अनुमान गरिएको स्रोतले बतायो । सानिमा बैंकको नेतृत्वमा अन्य ९ बैंकको लगानी रहेको उक्त आयोजनामा बैंक ऋण लगानी ७० प्रतिशत रहनेछ । प्रवद्र्धकको इक्विटी (स्व पुँजी) ३० प्रतिशत लगानी रहनेछ ।


आफ्नै प्रसारण लाइन
उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न आयोजनाको प्रवद्र्धक विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आफैंले प्रसारण लाइन निर्माण गरेको छ । मादी गाउँपालिका ९ मुंग्रीबेंसीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनसम्म ३ दशमलव ८ किलोमिटर लामो ३३ केभीको डबल सर्किट ट्रान्समिसन लाइन आफैं निर्माण गरेको भट्टराईले बताए । उनका अनुसार सोमबार (असोज २२) देखि पावरहाउसदेखि मुंग्रीबेंसीसम्मको सबस्टेसनसम्म जडित ट्रान्समिसनमा विद्युत् चार्ज गरेर परीक्षण गरिएको छ । दिनदिनै परीक्षण गरिएको र आयोजनाको परीक्षणभन्दा प्रसारण लाइनको परीक्षण कार्य अगाडि सकिने उनले बताए ।

अर्थ वाणिज्य

बजारमा किनमेल गर्नेको भीड

- कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक (कास)– प्राय: सुनसान रहने तीन नगर र नौ गाउँपालिकाका प्रमुख बजारहरू दसंै लागेसँगै चहलपहल बढेको छ । दसंैका लागि राजधानीबाट फर्कने र बजारमा किनमेल गर्नेको भीडले प्रमुख बजारमा चहलपहल बढेको हो । बाह्रबिसे बजारमा दसंै किनमेल गर्नका लागि झरेका त्रिपुरासुन्दरी गाउँपालिका पिस्करका सूर्य पौडेलले अधिकांश बजार आएकाले गाउँ सुनसान बनेको बताए ।


‘बाह्रबिसे बजारलाई दसंैले छपक्कै छोपेछ तर गाउँको सबै बस्ती मसान घाटजस्तै शून्य छन्, बजारका पसलपिच्छै मान्छे भरिएका छन्,’ उनले भने, ‘अघिल्लो वर्षभन्दा यो वर्ष चाँडै दसंै रौनकले ढाक्न लागेछ ।’ त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गतका प्राय: सबै गाउँबाट दसंैको सामग्री खरिद गर्न बाह्रबिसे बजार झरेका कारण भीड धेरै बढिरहेको उनको कथन छ । सीमावर्ती भेगको नजिकै रहेको प्रमुख बजार बाह्रबिसेजस्तै लामोसाँघु, खाडीचौर र सुुकुटे, बलेफी पुरानो बजार मानिने फुल्पिङकोटस्थित जलवीरेमा भीड बढेको छ । अरू बजारभन्दा मेलम्ची नगर क्षेत्रको मेलम्ची बजारमा किनमेल गर्ने बढी देखिएको व्यवसायी जग्गनाथ चालिसेको दाबी छ ।

 

अर्थ वाणिज्य

माइक्रोम्याक्सको नयाँ फोन बजारमा

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– माइक्रोम्याक्सको ‘क्यू ४००२ बोल्ट फोर’ बजारमा ल्याएको छ । यसमा १ जीबी र्‍यामका साथ ८ जीबी रोम रहेको जारी विज्ञप्तिमा छ । ग्राहकले यो फोनको खरिदमा आकर्षक ब्याग र प्रत्येक साता २५० एपबी एनसेल डाटा १२ सातासम्म नि:शुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

अर्थ वाणिज्य

नेट टीभीको अफर

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेट टीभी मोबाइल एपले दसैं अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘चाडपर्वको लहर नेट टीभीको एकमा एक अफर’ ल्याएको जारी विज्ञप्तिमा छ । यो अफरअनुसार एक महिनाको प्रिमियम प्याकको खरिदमा अर्काे एक महिना सित्तैमा टीभी हेर्न पाइने जनाएको छ । २४ रुपैयाँ ९९ पैसादेखि नि:शुल्क नेपाली, हिन्दी र अंग्रेजीचलचित्रहरूको मज्जा सेवाग्राहीले नेट टीभीको एपमा लिन सक्ने कम्पनीले जनाएको छ ।

अर्थ वाणिज्य

अग्नि मोटोको सोरुम विस्तार

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अग्नि मोटो इन्कले महिन्द्रा टुहवीलरका लागि नेपालगन्जको कारकादोमा सोरुम स्थापना गरेको छ । सोरुमको शुभारम्भपछि यस क्षेत्र तथा आसपासका ग्राहकहरूले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयरपार्टससम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

मोबाइल मेलामा भीड

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राजधानीको न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा चाडबाडको अवसरमा सञ्चालित ‘दसैं मोबाइल मेला’ मा ग्राहकको भीड बढेको छ ।


ताम्राकार कम्प्लेक्सस्थित मोबाइल व्यापार संघको आयोजना रहेको मेला असोज ३१ सम्म जारी रहने विज्ञप्तिमा उल्लेख छ । मोबाइल फोनमा अधिक छुट र विभिन्न कम्पनीहरूको उपहार योजनाले भीड बढेको संघका अध्यक्ष जगत साउदले बताए । उनका अनुसार मेलामा हरेक मोबाइलमा न्यूनतम ४ देखि अधिकतम ६० प्रतिशतसम्म छुट अफर रहेको छ ।

अर्थ वाणिज्य

क्यानोनको ‘इमेज स्क्वायर’

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्राइमेक्स इन्टरनेसनल इन्कले राजधानीस्थित सिभिल मलमा बिहीबारदेखि ‘क्यानोन इमेज स्क्वायर’ सञ्चालनमा ल्याएको छ ।


क्यानोनको सर्भिस सेवा, वर्क सप, फोटोग्राफी प्रशिक्षण, प्रदर्शन र फोटो मुद्रणलगायतका सेवा इमेज स्क्वायरबाट प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार ‘इमेज स्क्वायर’ ग्राहकको व्यक्तिगत फोटोग्राफी यात्रालाई पूर्ण बनाउने दर्शनमा आधारित छ ।

 

Page 19
खेलकुद

शिवरामको उपाधि नम्बर ४२

सूर्य नेपाल गल्फ टुर
- राजु घिसिङ
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ च्याम्पियन शिवराम श्रेष्ठ  । तस्बिर : कान्तिपुर

 (काठमाडौं)- पहिलो दिन २, दोस्रोमा ७ र तेस्रो दिन १० स्ट्रोकको अग्रता । त्यसैले अन्तिम चरणको प्रतिस्पर्धा बाँकी छँदै शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जित्ने लगभग पक्का भइसकेको थियो । त्यसैले उनले बिहीबार गोकर्ण गल्फ क्लबमा औपचारिकता पूरा गर्दै करिअरको ४२ औं उपाधि हात पारे ।


‘तेस्रो दिन नै उपाधि होड समाप्त भइसकेको थियो,’ सूर्य नेपाल गल्फ टुर २०१८–१९ को पहिलो प्रतियोगिताको अन्तिम दिन बिहीबार तीन अन्डर ६९ स्कोर गरेका शिवरामले भने, ‘त्यसैले अन्तिम चरणमा मलाई कुनै दबाब थिएन । र, ४–५ अन्डर खेल्ने लक्ष्य बनाएर कोर्समा उत्रिएँ । ब्याक नाइनमा राम्रो गर्न नसक्दा तीन अन्डरमात्र खेल्न सकें ।’ उनले ७२ होलको प्रतियोगितामा १५ अन्डर २ सय ७३ स्कोर गरे । पार ७२ को गोकर्ण गल्फ क्लबमा उनले पहिलो दिन ६८, दोस्रोमा ६७, तेस्रो र चौथो दिन समान ६९ स्ट्रोक खेलेका थिए ।


‘प्रतियोगिता १२–१३ अन्डरमा सिध्याउने लक्ष्य राखेको थिएँ । प्रदर्शन राम्रै भयो । र, १५ अन्डर खेले । खुसी लागेको छ,’ नवौंपल्ट सेन्ट्रल ओपनको ट्रफी चुमेपछि शिवरामले भने, ‘यस प्रतियोगिताको तयारीमा निकै मिहिनेत गरेको थिएँ । त्यसैले नतिजा पनि राम्रै भयो ।’ उनले सूर्य नेपाल गल्फ टुर सन् २००८–०९ मा सुरु भएयता दुईपल्ट (२००९–१० र २०१५–१६) मात्र सेन्ट्रल ओपनको ट्रफी गुमाएका छन् ।


रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) का उनले हरेक दिन सुरुका नौ होलमा उत्कृष्ट प्रदर्शन गरे । तर, उस्तै प्रदर्शन पछिल्ला ९ होलमा दोहोर्‍याउन सकेनन् । यस्तोक्रम अन्तिम चरणमा पनि कायमै रह्यो । उनले सुरुका नौ होलमा पाँच बर्डी गर्दै ५ अन्डर ३१ स्कोर गरे । होल १, ३, ५, ७ र ९ मा एक–एक शट जोगाएका उनी १२ र १५ औं होलमा भने बोगीमा परे । त्यसैले पछिल्ला ९ होलमा उनको स्कोर २ ओभर ३८ रह्यो ।


कुल ६ लाख ६६ हजार ४ सय ९८ रुपैयाँ पुरस्कारको प्रतियोगितामा शिवरामले १ लाख २० हजार हात पारे । सूर्य नेपाल मास्टर्स (२०१४) सहित व्यावसायिक गल्फमा ४२ औं उपाधि जितेका सर्वाधिक सफल यी नेपाली गल्फरले अघिल्लो सिजन (२०१७–१८) मा पाँच उपाधि (घनश्याम गोल्डेन जुब्ली, सेन्ट्रल ओपन, इस्टर्न ओपन, एनपीजीए म्याच प्ले र गल्फर पाइलट्स) जितेका थिए ।

प्रतियोगिताको एमेच्योरतर्फ विजेता र उपविजेता बनेका दाजुभाइ टासी छिरिङ र वान्चेन ढोन्डुप (बायाँ) । तस्बिर : कान्तिपुर


भुवन उपविजेता
गोकर्णका प्रो भुवन नगरकोटीले उपाधि होडमा शिवरामलाई चुनौती दिन सकेनन् । तर, दोस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा उनले अरु गल्फरको कडा चुनौती पनि सामना गर्नुपरेन । उनले अन्तिम दिन १ ओभर ७१ खेल्दै कुल तीन अन्डर २ सय ८५ स्कोरमा प्रतियोगिता पूरा गरेर ७७ हजार रुपैयाँ प्राप्त गरे । उनले सुरुका नौ होलमा २ अन्डर ३४ र पछिल्ला ९ मा १ ओभर ३९ खेलेका थिए ।


अन्तिम चरणमा ३ ओभर ७५ खेलेका आर्मीका धनबहादर थापा (५ ओभर २९३) तेस्रोमा रहे । उनको भागमा ५५ हजार रह्यो । दुई ओभर ७४ को कार्ड बनाएका रामकृष्ण श्रेष्ठ (१२ ओभर ३ सय) ले व्यावसायिक गल्फ करिअरकै सबैभन्दा राम्रो नतिजा (चौथो स्थान) हासिल गर्दै ४३ हजार प्राप्त गरे । अन्तिम चरणमा ७० शट खेलेका भेट्रान प्रो दीपक मगर (१४ ओभर ३०२) शीर्ष पाँचमा अटाए । उनले ३५ हजार हात पारे ।


पार ३ को पाँचौं होलमा ‘होल इन वान’ गरेका कृष्णमान राजवाहकसहित रामे मगर, विकास अधिकारी (सबै १५ ओभर ३०३), रवि खड्का (१६ ओभर ३०४) र शिवकुमार माझी (१७ ओभर ३०५) शीर्ष दसमा रहे ।


‘फाइनल ग्रुप’ मा रहेर अन्तिम दिन चार ओभर ७६ खेलेका टासी छिरिङ एमेच्योरतर्फ पहिलो भए । उनको कुल स्कोर ४ ओभर २ सय ९२ रह्यो । एमेच्योरतर्फ उनका भाइ वान्चेन ढोन्डुप (८ ओभर २९६) उपविजेता भए । वान्चेनले अन्तिम चरणमा ३ ओभर ७५ खेलेका थिए ।


प्रोफेसनल गल्फर्स एसोसिएसन अफ नेपाल (एनपीजीए) ले सूर्य नेपाल गल्फ टुरको ११ औं सिजनमा ९ प्रतियोगिता आयोजना गर्नेछ, जसको पुरस्कार ५५ लाख रुपैयाँ बढी छ । यो सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन २८ अक्टोबरदेखि आरएनजीसीमा हुनेछ ।

खेलकुद

विभागीय वर्चस्वमा प्रदेश ५ को यात्रा

- प्रकाश बराल
बागलुङमा भइरहेको २२ औं महिला भलिबलमा बिहीबार विपक्षीको प्रहार चेकमा आर्मीका खेलाडी ।तस्बिर : कान्तिपुर

 (बागलुङ) - बाइसौं राष्ट्रिय महिला भलिबलमा तीन विभागीय टोली र प्रदेश ५ सेमिफाइनल पुगेका छन् । विभागीय टोली त्रिभुवन आर्मी र पुलिस क्लबले बिहीबार दोहोरो जित पाउँदा एपीएफले पनि एक जित पाएको छ ।


बिहीबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले प्रदेश ७ लाई सोझो सेटमा हरायो । आर्मीले २५–६, २५–११, २५–८ को सेटमा विजय पाएको हो । नेपाल पुलिसले प्रदेश ३ विरुद्ध २५–११, २५–७, २५–१३ को सोझो सेटमा विजय प्राप्त गरेको थियो ।


सशस्त्र प्रहरीको एपीएफले गण्डकी प्रदेशलाई २५–२०, २५–१३, २५–१६ को सोझो सेटमा हराएको थियो । आर्मीले कर्णाली प्रदेशलाई २५–६, २५–२, २५–८ ले रोक्दै दिनको दोस्रो जित हात पारेको थियो ।


बिहीबारै गण्डकीले प्रदेश ७ लाई २५–१६, २५–१५, २५–१६ र पुलिसले प्रदेश २ लाई २५–९, २५–६, २५–१० को सेटले हराए । पुलिसको पनि दिनको खेलमा दोस्रो जित हो ।
सेमीफाइनल शुक्रबार दिउँसो गलकोट बहुमुखी क्याम्पसको कोर्टमा सुरु हुने जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष यामबहादुर श्रीसले जानकारी गराएका छन् ।


प्रतियोगिताबाट उत्कृष्ट १८ खेलाडी छनोट हुनेछन् । ६ वैकल्पिक खेलाडी पनि छनोट गरेर राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखिने छ । सदरमुकामभन्दा टाढा गरिएको राष्ट्रिय प्रतियोगिताले ग्रामीण क्षेत्रमा खेलकुदको माहौल सिर्जना गर्न सहयोग पुगिरहेको श्रीसले बताए । ‘खेलको विकाससँगै स्थानीय तहलाई बजेट निर्माणमा पनि चासो राख्ने बनाएको छ,’ उनले भने, ‘दर्शकका कारण ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धनमा वृद्धि भएको छ ।’


९ टिमका खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी २ सयभन्दा बढीको सहभागिता छ । युवालाई आर्कषित गर्न खेलमा लगानी बढाउने गलकोट नगरप्रमुख भरत शर्मा गैरेले बताएका छन् । यस प्रतियोगिताका लागि पनि नगरपालिकाले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

खेलकुद

फेवातालमा ओपन वाटर पौडी आज

- कान्तिपुर संवाददाता

(कास्की)- कास्कीमा पौडीको माध्यमबाट खेल पर्यटनका साथै पौडी खेलको विकास गर्ने उद्देश्यले ८ वर्षदेखि हुँदै आएको २.५ किलोमिटरको ओपन वाटर पौडी शुक्रबार हुने भएको छ ।
फेवातालस्थित तालबाराहीमा हुने प्रतियोगितामा ओलम्पियन खेलाडी शिरीष गुरुङसहित प्रतिस्पर्धामा रहने छन् । विदेशी खेलाडीको पनि सहभागिता रहने कास्की जिल्ला पौडी संघले जनाएको छ ।


पुरुष विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले १० हजार तथा महिला विजेताले १५, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कास्कीका खेलाडीका लागि छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । पहिलोले ८ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार पाउने छन् ।


सागर र अनुस्कालाई दोहोरो स्वर्ण
बिहीबार भएको नवौं माछापुच्छ्रे कप उमेर समूह पौडी च्याम्पियनसिपमा पाठशाला स्कुलका सागर नायक र अनुस्का पोखरेल दोहोरो स्वर्ण जितेका छन् । ५० मिटर फ्रिस्टायलको १७ वर्ष उमेर समूहमा सागरले ३२.३८ सेकेन्ड र अनुस्काले ३४.७५ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण जितेका हुन् । पुरुषतर्फ एलएका रियाज महर्जन र नेपालगन्जका रिजन विष्ट तथा महिलातर्फ लेसिया डंगोल र नेपालगन्जकी नम्रता कार्की क्रमश: दोस्रा र तेस्रा भए ।


५० मिटर ब्याकस्ट्रोकमा पनि सागरले स्वर्ण जिते । उनले ४४.१९ सेकेन्डमा दूरी पार गरे । एलएका रिवाज महर्जनले रजत र रमन तामाङले कांस्य जिते । महिलातर्फ अनुस्काले ४१.३५ सेकेन्डबाट स्वर्ण जित्दा अदीप्सा वैद्यले रजत र नेपालगन्जकी नम्रता कार्कीले कांस्य जितेका थिए ।


कास्की जिल्ला पौडी संघले नेपाल पौडी संघको सहयोगमा आयोजना गरेको च्याम्पियनसिपको यू–१४ को ५० मिटर फ्रिस्टायलमा एपेक्स स्कुलका गौरव लामाले स्वर्ण, उर्गेन महर्जनले रजत र ज्ञानोदयका सुशान्त श्रेष्ठले कांस्य जिते । सोही इभेन्टको महिलातर्फ अनुसिया तण्डुकारले स्वर्ण, जेभियरकी प्रनु भण्डारीले रजत र नेपालगन्जकी सुमी शाहीले कांस्य जिते ।


यू–१२ मा ब्वाइजमा श्रेयन सिंहले स्वर्ण, नेपालगन्जका अविरल भण्डारी रजत र खेमराज थापाले कांस्य तथा गल्र्समा शुभताराकी शिक्षा श्रेष्ठले स्वर्ण, मञ्जुघोक्साकी विदुषी गुरुङले रजत र आरज्ञी विष्टले कांस्य जिते । यू–१० मा लिसन डंगोलले स्वर्ण, साल्विन महर्जनले रजत र नेपालगन्जका करुण शर्माले कांस्य तथा गल्र्समा नेपालगन्जकी सुप्रिया रावलले स्वर्ण, आरजु थापामगरले रजत र दीपा कर्णले कांस्य जिते । यू–८ को २५ मिटरमा पुरुषतर्फ मञ्जुघोक्साका चोगेल शेर्पा, मियोन महर्जन र प्रतीक महर्जन तथा गल्र्समा टिसा महर्जन, आर्या महर्जन र जेनिसर केसीले क्रमश: स्वर्ण, रजत र कांस्य जिते ।


शुभाग्यलाई स्वर्ण
कास्कीका खेलाडीबीच भएको यू–१७ उमेर समूहको २५ मिटर फ्रिस्टायलमा शुभाग्य श्रेष्ठले स्वर्ण जिते । उनले १८.३१ सेकेन्डमा दूरी पार गरे । शुद्धत बुद्धाचार्यले रजत र संकल्प दाहालले कास्य जिते । महिलातर्फ आरुबी तामाङले १९.७५ सेकेन्डसाथ स्वर्ण जितिन् । जमुना थापाले रजत र जेलिशा गुरुङले कांस्य जिते ।


यू–१४ को ब्वाईजतर्फ विदित पौडेलले १७.२८ सेकेन्डसाथ स्वर्ण जिते । प्रियश गुरुङले रजत र नियोग छन्त्यालले कांस्य जिते । महिलातर्फ वीरंगना खत्रीले २३.३४ सेकेन्डसाथ स्वर्ण जित्दा सविना कार्की दोस्रो र अंकिता क्षेत्री तेस्रो भए । यू–१२ ब्वाइजतर्फ सिवन श्रेष्ठले स्वर्ण, उज्वल श्रेष्ठले रजत र समिप श्रेष्ठले कांस्य तथा यू–१० गल्र्सतर्फ औश्री पहरीले स्वर्ण, स्मारिका गिरीले रजत र प्रेरणा शर्माले कांस्य पदक जितेका थिए ।

खेलकुद

कुँवरको ध्यानाकर्षण

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एकसमय अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष दौडमा रहेका मणि कुँवरले जिल्ला अध्यक्षमाथि नेपाली फुटबलको सर्वोच्च निकायले स्पष्टीकरण सोधेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।


वैशाख २२ मा भएको एन्फाको निर्वाचनमा कुँवरले अन्तिम समयमा सहभागिता नजनाएपछि कर्माछिरिङ शेर्पाको समूहले ‘क्लिन स्वीप’ गरेको थियो । आफू एन्फा निर्वाचनबाट पछि हटे पनि कुँवरले फिफा तथा एएफसीको कोड अफ इथिक्सको पूर्ण रूपमा उल्लंघन हुने गरी निर्वाचन भएको जिकिर गर्दै भाग नलिएको दाबी गरेका थिए ।


त्यसै विषयमा उनले असोज ८ मा पत्रकार सम्मेलन गरी आफूले एन्फा अध्यक्ष शेर्पा नेतृत्वमाथि आरोप लगाउनुको कारण खुलाएका थिए । तर कुँवरको पत्रकार सम्मेलनमा उपस्थित जिल्ला फुटबल संघका अध्यक्षलाई एन्फाले ७ दिनभित्र त्यहाँ उपस्थित हुनुको कारणबारे स्पष्ट पार्न भन्दै स्पष्टीकरण सोधेको थियो ।


कुँवरले बिहीबार प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘के एन्फामा भएका गलत कुरा उठाउन नपाउने हो ? फुटबल विकासको अवरोध गर्न नभई संघभित्र भइरहेका गलत कुरालाई सार्वजनिक गरेर सचेत गराउने उद्देश्यमा पत्रकार सम्मेलन गरिएको थियो । मुलुक लोकतन्त्र हुँदै संघीय गणतन्त्रमा पुगिसकेको छ । फुटबल विकासप्रति समर्पित सबै व्यक्तिमा संघलाई सही बाटोमा लाने प्रयास गर्न पाउने लोकतान्त्रिक अधिकार हुन्छ ।’


एन्फा अध्यक्ष शेर्पा, उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र अन्तर्राष्ट्रिय संयोजक नवीन पाँडेले निर्वाचनताका अनियमितता गरेको आरोप लगाउँदै त्यो प्रमाण आफूसँग सुरक्षित रहेकाले उनीहरू कारबाहीमा पर्ने कुँवरको विश्वास छ ।

खेलकुद

बिर्तामोड र धरान भिड्ने

छोटकरी
- कान्तिपुर संवाददाता

मोरङ (कास)– प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबलको बिहीबार बिर्तामोड भेट्रान विजयी हुँदै फाइनल पुगेको छ । सीएजी स्वास्थ्य क्लब विराटनगरले आयोजना गरेको प्रतियागितामा बिर्तामोडले छिमेकी काँकडभिट्टा भेट्रान क्लबलाई २–० ले हरायो । खेलको ४८ औं मिनेटमा बिर्तामोडका सुभाष आङथुपाले पहिलो गोल गरे । ६७ औं मिनेटमा बिर्तामोडका नरेन्द्रमणि लिम्बुले अर्को गोल गरे । उनले २५ यार्डबाट गरेको प्रहार सिधैं पोस्टभित्र पुगेको थियो । म्यान अफ द म्याच बिर्तामोडका नरेन्द्रमणि घोषित भए । फाइनल असोज २७ मा हुनेछ । विजेताले १ लाख ५१ हजार र उपविजेताले ७५ हजार रुपैयाँ जित्नेछन् ।

खेलकुद

फर्साटिकर फाइनलमा

छोटकरी
- कान्तिपुर संवाददाता

रूपन्देही (कास)– कुन्जलापुरमा जारी ३२ औं झरना रनिङ सिल्ड नकआउट फुटबलमा फर्साटिकर युथ क्लब फाइनल पुगेको छ । बिहीबार फूलबारी गाइज बुटवललाई ३–२ ले पराजित गर्दै फर्साटिकरले उपाधि दाबेदारी पेस गरेको हो । उपाधिका लागि फर्साटिकरले लिस्नु युवा क्लब कोटिहवासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । सुरज हमालले गोल गरे । रोशन पहाडीको क्रसमा सुरजले हेडमार्फत गोल गरेका हुन् । तर, त्यो अग्रता धेरैबेर टिकेन । १० औं मिनेटमा फूलबारीका सरोज क्षेत्रीले बराबरी गोल गरे । लक्ष्मण रुचालको क्रसमा उनले गोल गरेका थिए । खेलको १९ आंै मिनेटमा विदेशी खेलाडी आबाको गोलबाट फर्साटिकर पुन: अग्रता लियो । आबाले सुरजको पास सदुपयोग गरे । खेलको ३२ औं मिनेटमा लक्ष्मण रुचालले फूलबारीबाट बराबरी गोल गरे । फूलबारीका सुभाष गुरुङलाई पेनाल्टी बक्सबाहिर फर्साटिकरका विष्णु गुरुङले लडाएपछि प्राप्त फ्रि किकमा लक्ष्मणले गोल गरे । फर्साटिकरका लागि ४७ औं मिनेटमा सरोज दाहालले विजयी गोल गरे । लक्ष्मण रुचाल म्यान अफ द म्याच भए ।

 

Page 20
खेलकुद

नेपाल र सिंगापुर भिड्दै

विश्व ट्वान्टी–२० छनोट
- कान्तिपुर संवाददाता

(काठमाडौं)- नेपालले आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ मा शुक्रबार सिंगापुरको सामना गर्दै छ । मलेसियामा भइरहेको प्रतियोगितामा अन्तिम खेल जित्ने टोलीले उपाधि जित्ने छ । नेपाल र सिंगापुरले पहिलो ६ खेल जित्दै अन्तिम खेलमा उभिएका हुन् ।


क्वालालम्पुरमा हुने खेल जित्न नेपाललाई खासै गाह्रो नपर्न सक्छ । नेपाल वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र हो भने सिंगापुर विश्व क्रिकेट लिगको डिभिजन ४ मा संघर्ष गरिरहेको छ । २०१० मा नेपाल र सिंगापुर दुवै डिभिजन ५ का टोली थिए । नेपालजस्तै सिंगापुरले पनि दोस्रो चरणको एसिया छनोटमा स्थान पक्का गरिसकेको छ ।


नेपालले सिंगापुरसँग यसअघि खेलेका दुवै ट्वान्टी–२० खेल सजिलै जितेको थियो । २००९ को एसीसी ट्वान्टी–२० मा नेपालले सिंगापुरलाई यूएईमा ९ विकेटले पराजित गरेको थियो । सन् २०१३ मा काठमाडौंमा यो प्रतियोगिता हुँदा नेपालले सिंगापुरमाथि १ सय २१ रनको विजय हात पारेको थियो । अहिले पनि ट्वान्टी–२० मा रन अन्तरमा नेपालको दोस्रो ठूलो विजयमा पर्छ । नेपालले यसै प्रतियोगितामा कमजोर थाइल्यान्डलाई १ सय ४० रनले पराजित गरेको थियो ।


दुई महिनाअघि मलेसियामै भएको ५० ओभरको एसिया कप छनोटमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो । सिंगापुरसँग कुनै पनि स्तरमा नेपालले अहिलेसम्म कुनै खेल हारेको छैन ।


लगातार चौथो विजय हात पार्दै यसअघि नै एसिया छनोटमा पुगिसकेका नेपाल र सिंगापुर सात राष्ट्र सहभागी प्रतियोगितामा राउन्ड रोबिनको अन्तिम खेल खेल्न लागेका हुन् । अर्को एक टोलीको छनोट टुंगो हुन बाँकी छ । प्रतियोगिताको शीर्ष तीन टाली दोस्रो चरणमा छानिने प्रावधान छ ।

खेलकुद

थ्रीस्टार र पुलिसलाई सफलता

पल्सर ए डिभिजन लिग
- कान्तिपुर संवाददाता
सहिद स्मारक लिगमा जावलाखेल युथविरुद्ध गोल गरेपछि पुलिसका अजित भण्डारी साथीसँग खुसी साट्दै  । तस्बिर : कान्तिपुर

(काठमाडौं)- उपाधिका दाबेदारहरू थ्रीस्टार र पुलिसले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विहीबार तीन अंक जोडदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको यात्रा सुरु गरेका छन् ।
थ्रीस्टारले ललितपुर डर्बीमा फ्रेन्ड्समाथि २(१ को जित रच्यो भने अजित भण्डारीको गोलको सहयोगमा पुलिसले जावलाखेल युवा क्लबलाई १(० ले पराजित गर्‍यो । फ्रि(किकमा बनेको मुभमा तेज तामाङको क्रसमा अजतलले ३१ औं मिनेटमा गोल गरेका थिए । जितसँगै थ्रीस्टार र पुलिसले संकटाले जस्तै समान ३ अंक बनाएका छन् । चौध टिम सहभागी लिगमा शुक्रबार हिमालयन शेर्पाविरुद्ध एपीएफ र ब्रिगेड ब्वाइजविरुद्ध मनाङ मस्र्याङदीले खेलेपछि ‘दसैं ब्रेक’ हुनेछ ।


स्टार खेलाडीले भरिएको थ्रीस्टारले आक्रामक खेल पस्कियो । यस क्रममा रन्जन विष्टले पहिलो हाफ र बुद्ध चेम्जोङले दोस्रो हाफमा गोल गरे । युवा र अनुभवी खेलाडीलाई समेट्दै मैदानमा उत्रिएको फ्रेन्ड्सको लागि बैकल्पिक विकास लामाले अन्तिम समयमा गोल गरे ।


थ्रीस्टारका अफ्रिकी मूलका खेलाडी पिटर सेगुनले चौथो मिनेटमा फ्रेन्ड्सका बंगलादेशी गोलकिपर मोहमद करिमसँग वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बल पोस्टबाहिर गएको थियो । अर्को मिनेटमै सुनील बलको फ्रि(किकमा रन्जित धिमालको हेडर पनि बाहिरिएको थियो ।

 प्रतिस्पर्धामा थ्रीस्टार र फ्रेन्ड्सका खेलाडी । तस्बिर : कान्तिपुर


रन्जनको एकल प्रयासमा थ्रीस्टाले १७ औं मिनेटमा अग्रता लिएको थियो । उनले एक्लै अघि बढाउँदै बललाई सिक्स यार्ड बक्सबाट पोस्टको दिशा दिएका थिए । फ्रेन्ड्सले पहिलो आक्रमण २५ औं मिनेटमा गरेको थियो तर त्यसमा कप्तान धिरज श्रेष्ठको हेडर सटिक रहेन । लगत्तै थ्रीस्टारले रन्जितले प्रहार गरेको फ्रि(किकमा बल पोस्ट नजिकबाट बाहिरिएको थियो । सरोज योन्जनको फ्रि(किकमा गोलकिपर एलन न्यौपाने ‘बिट’ भइसकेको अवस्थामा डिफेन्डर विष्णु सुनुवारले बल क्लियर गर्दै थ्रीस्टारको संकट टारेका थिए ।
सुनीलको क्रसमा बुद्धले ६९ औं मिनेटमा गरेको हेडरमा पनि गोल निस्किएन । निरन्तर मिहिनेत गरिरहेका उनी ८३ औं मिनेटमा भने सफल भए । यस अवसरमा उनले पेनाल्टी क्षेत्र नजिकबाट बललाई लोभलाग्दो गोलमा परिणत गर्दै थ्रीस्टारको अग्रता दोब्बर बनाएका थिए ।

गोल गरेपछि थ्रीस्टारका खेलाडी रन्जन विष्ट ।


प्रिजेन तामाङको स्थानमा ८४ औं मिनेटमा मैदानमा प्रवेश गरेका विकास लामाले १० मिनेटको इन्ज्युरी समयको पहिाले मिनेटमा गोल गरेर अन्तर छोट्याएका थिए । उनले घम्साघम्सीवीचि किरण बोहराको प्रहारमा पाएको बललाई गोललाइन पार गराएका थिए । तर, अन्त्यतिर दबाब दिए पनि फ्रेन्ड्सलाई खेलमा फर्कन ढिला भइसकेको थियो ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले एकपछि अर्को गर्दै निरन्तर अवसर सिर्जना गर्नुलाई सकारात्मक पक्षको रुपमा लिएको बताए । ‘हामीले थुप्रै अवसर सिर्जना गर्‍र्यौं र त्यो टिमको उज्ज्वल पक्ष हो,’ उनले भने । उनका समकक्षी रमेश महर्जनले प्रतिस्पर्धात्मक खेल भएर पनि अनुभवी खेलाडीको अभावमा पराजित हुनुपरेको बताए । ‘सबै खेलाडी ए डिभिजन लिगमा पहिलोपल्ट सहभागी भएका हुन् । र, सबै खेलाडी २० वर्षमुनिका छन् । उनीहरूले पहिलो खेलमा आत्मविश्वास गुमाउन पुगे,’ उनले भने । दसैं ब्रेकपछि टिममा विदेशी खेलाडी थप्ने पनि उनले बताए ।

 फ्रेन्ड्स १–२ थ्रीस्टार
जावलाखेल ०–१ पुलिस

खेलकुद

मनाङ र सिग्नेचर एकसाथ

- कान्तिपुर संवाददाता
मनाङ मस्र्याङ्दी र नेपाल लिकर्सको सिग्नेचर ह्विस्कीबीच बिहीबार प्रायोजन सम्झौतापछि जर्सी सार्वजनिक गरिँदै ।तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

काठमाडौं (कास)– मनाङ मस्र्याङदी क्लब नयाँ प्रायोजक सिग्नेचर ह्विस्कीसाथ जारी सहिद स्मारक लिगमा उत्रने भएको छ । मनाङले शुक्रबार दिनको दोस्रो खेलमा व्रिगेड व्वाइज क्लबसँग खेलेर ५ वर्षपछि भएको लिगमा आफ्नो यात्रा थाल्दै छ । मनाङ धेरैपल्ट लिग जित्ने टोली हो ।
मनाङ र नेपाल लिकर्स प्रालिबीच बिहीबार सम्झौता भएको छ । एकवर्षे सम्झौताअनुसार नेपाल लिकर्सले मनाङलाई २५ लाख नगद उपलब्ध गराउने छ । मनाङले आफ्नो क्लबको नामअगाडि सिग्नेचर राख्नुका साथै जर्सीमा पनि सोही ब्रान्ड राखेर मैदान उत्रने छ । मनाङका महासचिव मुखिया गुरूङ र नेपाल लिकर्सका अध्यक्ष राजेशवीर तुलाधरबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।


नेपाल लिकर्सका मार्केटिङ म्यानेजर विज्ञान गुप्ताले आफ्नो कम्पनीको उद्देश्य ‘प्यासन’ भएको र त्यसलाई जोड्न मनाङसँग हातेमालो गरेको बताए । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबलको बजार ठूलो रहेकाले नेपाल लिकर्सले लगानीवापत प्रतिफल पाउने जनाए । उनले भने, ‘अहिलेको लिग कास्टिङमात्र हो । त्यसपछि यसलाई टिकाउ बनाउँदै अर्को पाइलामा व्यावसायिक बनाउँछौं । सामाजिक हिसाबमा चलिरहेका क्लबहरू पनि व्यावसायिक बाटोमा आउनुपर्छ ।’


अध्यक्ष शेर्पाले राष्ट्रिय टिमसँगै क्लबहरूलाई पनि प्रवद्र्धन गर्न खोजेको र आउँदा दिनमा क्लबलाई आमन्त्रण प्रतियोगितामा मौका दिइने जनाए । उनले बंगबन्धु गोल्डकपजस्तो प्रतियोगितामा नेपालको लिग च्याम्पियनलाई पनि पठाउन सकिने जनाए ।


मनाङले आफ्नो टोलीलाई नयाँ प्रायोजक सिग्नेचर ह्विस्कीको जर्सीमा प्रस्तुत गरेको थियो । मनाङमा राष्ट्रिय टोलीका कप्तान विराज महर्जन, विशाल राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, विशाल श्रेष्ठ, हेमन गुरुङलगायत राष्ट्रिय खेलाडी छन् । टोलीका प्रशिक्षक अफ्रिकन टोपे फुजा हुन् ।

 आजका खेल
हिमालयन शेर्पाविरुद्ध एपीएफ
११ : ०० बजे
ब्रिगेड ब्वाइजविरुद्ध मनाङ
१५ : ०० बजे

Page 21
Page 22
Page 23
हेल्लो शुक्रवार

कन्सर्टमै व्यस्त

- कान्तिपुर संवाददाता

हरेक चाडपर्वको अवसरमा सांगीतिक कार्यक्रमहरु पनि बढ्ने गरेको छ । दसैंमा कन्सर्ट नबढ्ने कुरै छैन । त्यसैले दसैंको अघिपछि गायक–गायिकाहरु निकै व्यस्त हुने गर्छन् । कन्सर्ट भ्याएरै भए पनि संगीतकर्मीहरु सबैले आ–आफ्नै योजना बनाउने गर्छन् । पाँच संगीतकर्मीका दसैं योजनाबारे सुनीता साखकर्मी लेख्छिन् :


राजु लामा, गायक
दसैंमा टीका लगाउने चलन छैन, गायक राजु लामाको घरतिर । तैपनि सानैदेखि दसैंमा चङ्गा उडाउने, आफन्तकहाँ जाने भने गर्थे । ‘पहिले त दसैं आउनेबित्तिकै आकाशै छोपिने गरी चङ्गा उडेको देखिन्थ्यो, उडाइन्थ्यो,’ उनले भने, ‘अहिले एउटा पनि उडेको देखिँदैन ।’
मंगोलियन हर्टका ‘फ्रन्टम्यान’ राजु दसैंमा प्राय: घर बाहिरै हुन्छन् । परिवारबाट टाढा । यस वर्ष पनि नेपालभित्रै ब्यान्डसहित दमक, बिर्तामोड, इनरुवा, काभ्रेको तिमालमा कन्सर्ट गर्ने तयारीमा छन् । मंगोलियन हार्टले २५ वर्ष भएको अवसरमा देशका २५ ठाउँमा कन्सर्ट गर्ने योजनामामा छन् उनी ।

 

तृष्णा गुरुङ, गायिका
कभर सङ गाएर चर्चा कमाएकी तृष्णा बौद्ध धर्मावलम्बी भएकीले दसैं मनाउँदिनन् । तर नजिकका साथीले घरमा बोलाउँदा भने उनी गएर टीका लगाउँथिन्, खेल्थिन् अनि खानेकुरा खान्थिन् । चार वर्षयता उनी दसैंका सांगीतिक कार्यक्रमहरूमा व्यस्त भइरहेकी छन् । यसपालि पनि संखुवासभा, चितवन, पोखरालगायत आठ ठाउँमा कन्सर्ट गर्न पुग्दैछिन् । दसैंमा धेरै कार्यक्रम हुन्छ भन्ने उनलाई लाग्दैन । उनले भनिन्, ‘नेपाल चाडपर्वमा धनी छ । स–साना चाड पनि धुमधामसँग मनाउने भएकाले प्राय: सबै पर्वको अवसरमा कार्यक्रम हुन्छन् । दसैं भनेर धेरै बढ्ने भन्ने हुन्न ।’

 


आस्था राउत, गायिका
दसैंको अवसर पारेर म्युजिक भिडियो ल्याएकी छन् आस्थाले । आस्थाले घटस्थापनामा पोखरा गाएपछि फूलपातीमा रौतहटको चन्द्रनिगाहपुर र नवमीमा धनुषाको कन्सर्टमा गाउँदैछिन् । ‘अहिले नयाँ ठाउँलाई प्राथमिकता दिइरहेकी छु,’ उनले भनिन् । त्यसपछि उनी दसंै मनाउनचाहिँ घर (काठमाडौं) फर्किने योजनामा छिन् । कहिले कार्यक्रममा जाँदा त कहिले हजुरबुबा, हजुरआमाहरू बितेकाले उनले घरमा दसैं नमनाएको पनि पाँच वर्ष भइसक्यो ।


दसैंमा बच्चा छँदा जस्तो उनलाई अचेल रमाइलो लाग्दैन । बानेश्वरमा हुर्किएकी आस्था दसैं मनाउन पुरानो घर दोलखा चरिकोट पुगेको सम्झन्छिन् । निधारको वल्लो छेउदेखि पल्लो छेउसम्म टीका लाउन नपाएर रोएको सम्झिँदा अहिले आफैं हाँस्ने गर्छिन् । हजुरबुबाको हातबाट टीका लगाउनै पनि पालो कुर्नुपर्दाको समय अहिले धेरै ‘मिस’ हुने उनी बताउँछिन् ।
‘हजुरबुबा प्रधानपञ्च हुनुहुन्थ्यो । गाउँका सबै मानिस हाम्रो घरमा टीका लगाउन आउनुहुन्थ्यो,’ उनले भनिन्, ‘कुर्दाकुर्दा पालै आउँदैनथ्यो । हामीलाई वास्ता नगरेजस्तो लाग्थ्यो अनि रोइदिन्थें ।’ टीका लगाउने रोलक्रम कुर्दाको मज्जा अहिले बुझ्दै गएको उनी सुनाउँछिन् । दसैंका बेलामा सहरबाट गाउँ जाने भएकाले गाउँमा उनको फूर्ति नै बेग्लै हुन्थ्यो । ‘कसले कति पैसा पायो भन्नेमा दाजुभाइसँग प्रतिस्पर्धा नै चल्थ्यो । पैसा कम दिनेलाई लोभी भनिन्थ्यो,’ उनले भनिन्, ‘अहिलेमात्रै पैसाभन्दा नि आशीर्वाद ठूलो हो भन्ने बुझियो ।’

 


कालीप्रसाद बास्कोटा, संगीतकार
उनले घरमा दसैं मनाउन नपाएको दुई वर्ष भयो । दसैंको अवसरमा चार ठाउँमा कन्सर्ट सकाएर नवमीदेखि घरमै बस्ने योजनामा छन् उनी । ‘परिवारसँगको दसैं मिस गर्छु,’ उनले भने, ‘धेरै ठाउँबाट दसैंको कार्यक्रमका लागि निम्तो आए पनि धेरै दौडधुप गर्दिनँ । नेपाल आइडलको काम पनि गर्नुपर्छ ।’

 

मनोजकुमार केसी, गिटारिस्ट
उनी दसैं भन्नेबित्तिकै बिहानको शीत सम्झिन्छन् । उनलाई दसैं आउने बेला बिहानीपख घाँसमा देखिने शीतले निकै रमाइलो महसुस गराइदिन्थ्यो । ‘पहिले त वातावरणले नै दसैं आएको संकेत गथ्र्यो,’ उनले भने, ‘अहिले शीत पर्न छोड्यो । शीत नपर्ने भएकाले दसैं आएको गएको केही महसुस नै हुन्न ।’


दसैं आउँदै गर्दा घरमा मालश्री धुन बजाउन थाल्छन् मनोज । पोहोर साल बुबा बितेपछि दसैं मनाउन नपाएका उनी यस वर्ष तीनवर्षे छोरालाई सपिङ गरिदिने र नगरकोट वा धुलिखेल ड्राइभमा लिएर जाने योजनामा छन् । सदस्यहरूको व्यस्तताले १९७४ एडी ब्यान्ड हाल सक्रिय छैन । यस ब्यान्डलाई उनी फेरि सक्रिय बनाउने तयारीमा छन् । ‘हामी ब्यान्डबाटै दसैंमा कन्सर्ट गर्ने योजनामा छौं । अब ब्यान्डलाई निरन्तरता दिने सोच छ’ उनले भने ।

Page 24
हेल्लो शुक्रवार

शो परिकल्पना

- कान्तिपुर संवाददाता

भिन्नाभिन्नै पहिरनमा ठाँटिएका कलेजका विद्यार्थी र मोडल आइतबार सोल्टी क्राउन प्लाजा होटलको हलमा पालैपालो र्‍याम्पमा उत्रिए । ‘अभूतपूर्व परिकल्पना’ नाम दिइएको फेसन शोमा नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीको बाहुल्य थियो । ड्रेस डिजाइनिङ र क्याटवाकमार्फत उनीहरूले स्नातक तेस्रो वर्ष सकिएको संकेत दिएका थिए ।


लिम्बू, धिमाल, शेर्पा, थकाली, नेवार, सुनुवार, थारू र राजवंशी समुदायको पहिरनमा मोडल दर्शकदीर्घामा देखा परेसँगै फेसन शो सुरु भएको थियो । त्यसपछि चेन्ज इन सिजन, फेमिनाइन लुक, पप आर्ट र सेड्स अफ कलर थिममा विद्यार्थीलाई र्‍याम्पमा उतारिएको थियो । स्नातक पूरा गर्न लागेका ८४ विद्यार्थी आ–आफ्नै थिममा सहभागी भएका थिए । नयाँ विद्यार्थीहरू भने मोडलका रूपमा प्रस्तुत भएका थिए । एक्काइस वटा समूहले विद्यार्थीका क्रिएटिभ डिजाइनलाई प्रदर्शन गरेका थिए ।


१४ औं ग्रयाजुएसन फेसन शो विद्यार्थीहरूका लागि १ सय पूर्णाङ्कको हो । यसमा आन्तरिकबाट ५० र फेसन शोबाट ५० अंक दिइन्छ । फेसन शोमा प्रारम्भिक चरणमा २५ अंक र रन–वेको प्रदर्शनीलाई आधार बनाएर २५ अंक छुट्याइएको हुन्छ । र्‍याम्पमा मोडल मात्र उत्रिएनन्, सँगै डिजाइनर पनि देखा परेका थिए । फेसन शोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । अचेल मानिसहरू अनलाइन, भिडियो गेममा बढी प्रभावित भइरहेका छन् । त्यस्तै खालका जीवन शैलीमा चाहिने थिममा ड्रेस डिजाइन गरिएको थियो, जसलाई ६ सिक्वेन्समा देखाइएको थियो ।


– विमल

तस्बिरहरू : इलिट जोशी

हेल्लो शुक्रवार

रोमाञ्चक खेलको अवसर

- कान्तिपुर संवाददाता

दसैं भनेपछि सबै केही न केहीमा व्यस्त हुन्छन्, नियमित कामकाज छाडेर । तर कुनै खेलको कट्टर समर्थक हो भने दसैं भनेर यसबेला सुख पाइने छैन किनभने यसै समयमा निकै सनसनीपूर्ण केही खेल हुँदैछन्, विश्व खेलकुदमा । विशेषत: फुटबलमा । अनि क्रिकेटमा पनि । यसपालिको दसैंताका हुने केही महत्वपूर्ण खेल :

फ्रान्सविरुद्ध जर्मनी
पेरिस
१६ अक्टोबर
अचेल युरोपतिर यूईएफए नेसन्स लिगको माहोल चलेको छ । ढिलो–चाँडो यसले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई विस्थापित गर्नेछ । विश्वकप २०१८ सकेलगतै यो प्रतियोगिता सुरु भएको हो र लामो समय लगाएर युरोपका देशले खालि समयमा यो प्रतियोगिता खेल्नेछन् । र, फूलपातीकै दिन परेको छ, फ्रान्सविरुद्ध जर्मनीको खेल । फ्रान्स त रह्यो, विश्वकप विजेता टिम । अनि जर्मनी चार वर्ष अगाडिको विजेता । तर सबैको आँखा जर्मन टिममै हुनेछ र सबैले उत्तर खोज्ने प्रयास गर्नेछन्, के जर्मन फुटबल खस्केकै हो अथवा अझै उस्तै छ ?

 

बार्सिलोनाविरुद्ध सेभिया
बार्सिलोना
२१ अक्टोबर
सुरुमै सही, तर पनि स्पेनी ला लिगको शीर्ष स्थानमा अहिले को छ, अनुमान गर्न सकिन्छ ? अंक तालिकाको नम्बर १ मा बार्सिलोना पनि छैन, रियल म्याड्रिड पनि छैन । छ त, सेभिया । केही दिन अगाडि मात्र हो, लिगमा सेभियाले रियलमाथि सनसनीपूर्ण जित निकालेको थियो । खासमा रियलले अहिले राम्रो खेल्न सकिरहेको छैन, क्रिस्टियानो रोनाल्डो गएयता ।
बार्सिलोनाको टिम त उस्तै छ, तर उसले पनि लय पाउन सकेका छैन । यसै पृष्ठभूमिमा एकादशीको दिन बार्सिलोनाले आतिथ्य गर्नेछ, यही सेभियाको ।

चेल्सीविरुद्ध म्यानचेस्टर युनाइटेड
लन्डन
२० अक्टोबर
पोर्चुगाली प्रशिक्षक जोसे माउरिन्होले जति पनि ख्याति कमाए, ती सबै चेल्सीमा छँदै कमाए, चेल्सी छाडेर अरूतिर उनले बदनामी नै बढी कमाए । अहिले उनी म्यानचेस्टर युनाइटेडमा छन् र भनिन्छ, कुनै पनि बेला उनी बर्खास्तीमा पनि सक्छन् । फेरि पनि मोउरिन्होको दम्भ हेरिनसक्नु छ । अहिले इंग्लिस प्रिमियर लिगमा तीन टिम समान १८ अंकसहित शीर्ष स्थानमा छन्, म्यानचेस्टर सिटी, चेल्सी र लिभरपुल । म्यानचेस्टर भने आठौं स्थानमा छ । संयोगले एकादशीको दिन म्यानचेस्टर चेल्सीकै भ्रमणमा जाँदैछ ।


पाकिस्तानविरुद्ध अष्ट्रेलिया
अबुधाबी
१६–२० अक्टोबर
‘बल टेम्परिङ’ विवादपछि आफ्ना दुई
प्रमुख खेलाडीका रूपमा स्टिभ स्मिथ र डेविड वार्नर गुमाएको अष्ट्रेलिया अब पहिले जस्तो टिम रहेन । विशेषत: टेस्ट क्रिकेटमा उसको साख गिरेको छ । अहिले अष्ट्रेलिया र पाकिस्तानबीच टेस्ट सिरिज चलिरहेको छ र यो यूएईमा भइरहेको छ । त्यसको अर्थ यो पाकिस्तानको घरेलु सिरिज हो । फूलपातीको दिन यी दुई टिमबीचको दोस्रो टेस्ट अबुधाबीमा सुरु हुनेछ । पाकिस्तानको सकेसम्म दाउ हुनेछ, अष्ट्रेलियाको साख गिराउने ।



श्रीलंकाविरुद्ध इंग्ल्यान्ड
दाम्बुला, केन्डी, कोलम्बो
१३, १७, २० र २३ अक्टोबर
वान डे क्रिकेटका पारखीका लागि आजभोलि पूरा ध्यान वान डे विश्वकपमा छ । इंग्ल्यान्डमा अबको विश्वकप हुनेछ र वान डे क्रिकेटमा यही टिम लयमा देखिने प्रयासमा छ । इंग्ल्यान्डमै क्रिकेट खेलकै जन्म भए पनि यो टिमले अहिलेसम्म वान डे विश्वकप जित्न सकेको छैन । सायद यसपल्ट आफ्नै घरेलु मैदानमा यो उपलब्धि प्राप्त हुनेछ कि ? यसको सुरुआती परीक्षा श्रीलंकाविरुद्ध चलिरहेको छ । महाअष्टमीको दिन क्यान्डीमा दुई टिम तेस्रो वान डेमा भिड्ने छन् र यो खेल हुनेछ, डे नाइटका रूपमा ।

 

Page 25
हेल्लो शुक्रवार

मध्यम मूल्यका स्मार्टफोन

- कान्तिपुर संवाददाता

दसैंमा नयाँ लुगा मात्रै होइन, मोबाइल किन्ने योजनामा पनि धेरै हुन्छन् । तर, नेपाली बजारमा अहिले पनि आधा दर्जन बढी ब्रान्डका थुप्रै मोडलका फोनहरु छन् । तीमध्ये फरक मूल्यका फोन त कत्ति हो कत्ति । सधैं महँगा मूल्यकै फोन चाहिन्छ भन्ने पनि छैन । आफ्नो आवश्यकता र बजेटलाई ध्यानमा राखी मोबाइल किने प्रयोगकर्ताका लागि लाभदायी हुन सक्छ । यहाँ भिन्न मूल्यका फरक ब्रान्डका केही फोनहरुको विकल्प दिइएको छ । यीमध्ये कुनै फोन डिजाइनका हिसाबले अब्बल छन् भने कुनै कार्यक्षमताका लागि । केही फोन क्यामेरा केन्द्रित छन् भने केही फोन ब्याट्री केन्द्रित । यस्ता स्मार्टफोनको विकल्पले प्रयोगकर्तालाई उपयुक्त फोन छनोटमा सघाउनेछ ।

 


रु. ३० हजारसम्म

एमआई एटु लाइट
डिस्प्ले : ५.८४ इन्च
प्रोसेसर : २ गिगाहर्ज अक्टाकोर
र्‍याम : ३ जीबी
स्टोरेज : ३२ जीबी
क्यामेरा : १२ र ५ मेगापिक्सेल
ब्याट्री : ४००० एमएएच
मूल्य : रु.२०,९९९/–


एमआई रेडमी नोट फाइभ एआई
डिस्प्ले : ५.९९ इन्च
प्रोसेसर : स्न्यापड्रयागन ६३६
र्‍याम : ३ जीबी
स्टोरेज : ३२ जीबी
क्यामेरा : ५ र १२ मेगापिक्सेल
ब्याट्री : ४००० एमएएच
मूल्य : रु.२३, ४९९/–


भिभो भी सेभेन
डिस्प्ले : ५.७ इन्च
प्रोसेसर : १.८ गिगाहर्ज अक्टा कोर
कोर्टेक्स ए ५३
र्‍याम : ४ जीबी
स्टोरेज : ३२ जीबी
क्यामेरा : १६ मेगापिक्सेल
व्याट्री : ३००० एमएएच
मूल्य : रु.२७,२९०/–


सामसुङ जे सेभेन प्रो
डिस्प्ले : ५.५ इन्च
प्रोसेसर : एक्सिनस १.६ गिगाहर्ज अक्टा कोर
र्‍याम : ३ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : १३ मेगापिक्सेल
ब्याट्री : ३६०० एमएएच
मूल्य : रु.३०,०००/–


हुवावे वाई नाइन
डिस्प्ले : ५.९३ इन्च
प्रोसेसर : किरिन हाइसिलिकन ६५९ अक्टा कोर
र्‍याम : ३ जीबी
स्टोरेज : ३२ जीबी
क्यामेरा : १६ र २ मेगापिक्सेल
ब्याट्री : ४००० एमएएच
मूल्य : रु.२७,०००/–

 

रु. ३०–४० हजार

 

एमआई एटु
डिस्प्ले : ५.९९ इन्च
प्रोसेसर : स्न्यापड्रयागन ६६० अक्टा कोर
र्‍याम : ४ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : १२ र २० मेगापिक्सेल
ब्याट्री : ३००० एमएएच
मूल्य : रु.३०,९९९/–


नोभा थ्री आई
डिस्प्ले : ६.३ इन्च
प्रोसेसर : टर्बो २.२ गिगाहर्ज र
१.७ गिगाहर्ज अक्टाकोर
र्‍याम : ४ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : १६ र २ मेगापिक्सेल
ब्याट्री : ३३४० एमएएच
मूल्य : रु.३८,९००/–


भीभो भी एलेभेन
डिस्प्ले : ६.३ इन्च
प्रोसेसर : हेलियो पी६० अक्टाकोर
र्‍याम : ४ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : १६ र ५ मेगापिक्सेल
ब्याट्री : ३४०० एमएएच
मूल्य : रु.३९,९९०/–

ओप्पो एफ सेभेन
डिस्प्ले : ६.२३ इन्च
प्रोसेसर : हेलियो पी६० अक्टाकोर
र्‍याम : ४ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : १६ मेगापिक्सेल
ब्याट्री : ३४०० एमएएच
मूल्य : रु.३६,०००/–


सामसुङ ग्यालेक्सी जे एइट
डिस्प्ले : ६ इन्च
प्रोसेसर : स्न्यापड्रयागन ४५० अक्टा कोर
र्‍याम : ४ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : १६ र ५ मेगापिक्सेल
ब्याट्री : ३४०० एमएएच
मूल्य : रु.३३,४९०/–

 

रु. ४०–५० हजार


ओप्पो एफ नाइन
डिस्प्ले : ६.३ इन्च
प्रोसेसर : हेलियो पी६० अक्टा कोर
र्‍याम : ६ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : १६ र २ मेगापिक्सेल
ब्याट्री : ३५०० एमएएच
मूल्य : रु.४५,०००/–

 


भिभो भी एलेभेन प्रो
डिस्प्ले : ६.४१ इन्च
प्रोसेसर : स्न्यापड्रयागन ६६० अक्टाकोर
र्‍याम : ६ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : १२ र ५ मेगापिक्सेल
ब्याट्री : ३४०० एमएएच
मूल्य : ४५,०००


वान प्लस फाइभ टी
डिस्प्ले : ६.१ इन्च
प्रोसेसर : स्न्यापड्रयागन ८३५ अक्टाकोर
र्‍याम : ६ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : १६ र २० मेगापिक्सेल
ब्याट्री : ३४०० एमएएच
मूल्य : रु.४९,९९९/–

 


सामसुङ ग्यालेक्सी ए एइट प्लस
डिस्प्ले : ६ इन्च
प्रोसेसर : एक्सिनस ८७८५ अक्टा
र्‍याम : ४ जीबी
स्टोरेज : ३२ जीबी
क्यामेरा : १६ मेगापिक्सेल
ब्याट्री : ३५०० एमएएच
मूल्य : रु.४४,९९०/–

 

हेल्लो शुक्रवार

दसैंलाई दस किताब

- कान्तिपुर संवाददाता

साहित्यमा रूचि नै नभएका युवालाई पनि नेपाली साहित्य पढ्नतर्फ आकर्षित गर्ने लेखक हुन्, सुबिन भट्टराई । असोजको पहिलो साता आफ्नो पाँचौं कृति सार्वजनिक गरेका उनी लेखनमा जति मिहिनेत गर्छन्, पठनमा पनि त्यति नै लगनशील छन् । युवा पाठकमाझ लोकप्रिय उनी दसैं बिदामा निम्न १० किताब पढ्न सिफारिस गर्छन् :

।१। नरेन्द्र दाइ
नरेन्द्र दाइ मात्र होइन, बीपीका अन्य किताब पनि नेपाली साहित्यप्रेमीले पढ्नै पर्छ । उनका आख्यानमा पाइने ‘सिनेम्याटिक फ्लेवर’ ले जोकोहीलाई आकर्षित गर्ने क्षमता राख्छ । एक पाठकलाई अर्कै दुनियाँमा पुर्‍याइदिन सक्ने खुबी बीपीको छ । अझ ‘नरेन्द्र दाइ’ मा चित्रण गरिएको मुनरिया र गौरीका प्रेमको कुनै तोड नै छैन भन्दा अतिशयोक्ति नहोला । गहकिला तर्क, घटनाक्रमका सूक्ष्म विवरण र बेजोड भाषाको प्रयोग गर्न सक्ने बीपीमाथि अन्य लेखकभन्दा बढी शोध भएका छन् ।

।२। ध्रुवचन्द्रका एकाउन्न कथा
बीपीजस्तै ध्रुवचन्द्र गौतमका पनि सबै कृति ‘मास्टरपिस’ हुन् । ‘अग्निदत्तंअग्निदत्त’, ‘अलिखित’ जस्ता कृतिले अधिकतम चिनिएका उनको ‘ध्रुवचन्द्रका एकाउन्न कथा’ भने तुलनात्मक हिसाबले कम चर्चा गरिएको पुस्तकमा पर्छ । नेपाली साहित्यमा श्वेत व्यंग्यमा मज्जाले कलम चलाउन सक्ने थोरै व्यक्तिमा उनी अग्रपंक्तिमै पर्छन् । उनको उच्चस्तरीय भाषाशैलीले जोकोहीको मन लोभ्याउन सक्छ ।

।३। घामका पाइलाहरू
मदन पुरस्कार प्राप्त यो पुस्तक त ‘मास्टरपिस’ नै हो । धच गोतामेका संस्मरण पनि यो पुस्तक जत्तिकै पठनीय छन् । धेरैले ‘घामका पाइलाहरू’ लाई रुवाउने पुस्तकका रूपमा चित्रण गरेका छन् । पढ्दै तराईको मीठो बास्ना आउने र त्यहाँका व्यक्तिलाई उठाएर सर्लक्कै कागजमा उतारेको अनुभूति उनको पुस्तकमा पाइन्छ । चरणवद्ध रूपमा फेरिँदै गएको नेपाली समाजलाई नजिकबाट बुझ्न यो पुस्तक निकै फलदायी सिद्ध हुन सक्छ ।

।४। सर्पदंश
यो पुस्तक आफैंमा एक ‘मास्टरपिस’ हुँदाहँुदै पनि निकै कमले मात्र पढे–सुनेका छन् । बालमनोविज्ञानको मीठो चित्रण र दिदीभाइ तथा दाजुबहिनीको सम्बन्धको अनुपम नमुना महसुस गर्नकै लागि भए पनि दसैंमा यो पुस्तक पढ्नै पर्छ । अहिलेको समयमा
पढ्दा केहीलाई यो असामान्य लाग्न पनि सक्छ । तर, पहिलेको त्यो समयका पात्रको मनोविज्ञान बुझ्न चाहनेका लागि यो एक अद्भुत सिर्जना हो ।

।५। रावी पार एन्ड अदर स्टोरिज
सम्पूर्ण सिंह कालरा अर्थात् गुल्जारका हरेक रचना विश्वविख्यात छन् । कथा बुन्दै लगेर अन्त्यमा सिरिंग पार्ने गरी ‘पन्च’ हान्न सक्ने खुबी गुल्जारको कलममा रहेको छ । उम्दा हिन्दी साहित्य पढ्न मन लाग्ने जोकोहीका लागि गुल्जार राम्रो छनोट हुन सक्नेमा दुई मत नै छैन । विभिन्न भाषामा अनुवादित यस पुस्तकमा समाविष्ट अधिकांश रचनाले भारत विभाजनको समयको कथा बोकेका छन् । तिनले बेलाबेला झस्काउँछन्, बेलाबेला भाव विह्वल तुल्याउँछन् ।

।६। द बुक थिफ
मार्कस जुसाकको यो पुस्तकलाई पछि चलचित्रमा पनि उतारियो । युद्धकालीन परिस्थितिलाई सुन्दर ढंगले चित्रण गरिएको यस पुस्तकको भाषा र कथा वाचनले धेरैलाई तानेको पाइन्छ । दोस्रो विश्वयुद्धताका नाजी शासनले त्रस्त समाजको चित्रण गर्न जुसाकले लिजल नामक पात्रबाट कथा वाचन गराएका छन् । भावोत्तेजक पुस्तक पढ्न इच्छा राख्ने जोकोहीका लागि यो एक उचित छनोट हुन सक्छ ।  

।७। ट्युजडेज विद मोरी
यस पुस्तकमा प्रयोग भएका जस्ता दार्शनिक संवाद निकै कममा मात्र पाइन्छन् । यस पुस्तक पढिसकेका सबैजसोले यसलाई जीवनोपयोगी पाठ पढाउने पुस्तकका रूपमा व्याख्या गरेका छन् । धेरैभन्दा धेरैलाई यस पुस्तकद्वारा प्रेरित तुल्याउन सकेकाले मिच एल्बमको यो प्रयत्नलाई सफल मान्न सकिन्छ । यसमा आवश्यकताभन्दा धेरै दर्शन चर्चा गर्न खोजेको भनी समीक्षा गर्नेको पनि कमी भने छैन ।

।८। लाइक द फ्लोइङ रिभर
पाओलो कोहेलोका जीवनका भोगाइ, अनुभव तथा अखबारी स्तम्भ एकै ठाउँमा संकलित पुस्तक हो, ‘लाइक द फ्लोइङ रिभर’ । यसमा प्रयोग भएको सरल भाषाशैलीका कारण यसलाई धेरैले रुचाउन सक्नेमा शंका छैन । पाओलोका अन्य पुस्तकका तुलनामा यो अलि कम चर्चा गरिएको भए पनि प्रेरणाका हिसाबले यो निकै उम्दा रहेको छ । ‘द आल्केमिस्ट’, ‘हिप्पी’ जस्ता पुस्तक पढिसकेकाले ‘लाइक द फ्लोइङ रिभर’ पनि आफ्नो पढ्ने सूचीमा राख्न मिल्छ ।

।९। रोम्यान्सिङ विद लाइफ
यो पुस्तक कुनै समय बलिउडमा एक छत्र राज गरिरहेका देव आनन्दको आत्मवृतान्त हो । हिन्दी सिनेमा जगत्मा सबैभन्दा रुचाइएका अभिनेता बन्न उनले गरेका संघर्ष र सोही समयमा उनका जीवनमा आएका महिलाबारे किस्सा जान्न रुचाउनेका लागि यस पुस्तक उपयोगी हुन सक्छ । आत्मकथा लेख्दा आफ्ना कमजोरी लुकाउने र राम्रा पक्षबारे मात्र बढाइचढाइ लेख्ने सर्जकभन्दा भिन्न देखिएका छन्, देव आनन्द । यसमा उनी सके जति इमानदार
भएका छन् ।

।१०। द लोल्यान्ड
आख्यान लेखनमा आफ्नो छुट्टै छवि बनाइसकेकी झुम्पा लहिरीको उपन्यास साहित्यप्रेमीले पढ्नै पर्ने विचार धेरैले राख्दै आएका छन् । स–साना कुरामा पनि विवेचनात्मक व्याख्या गर्न सक्ने झुम्पाको फ्यान हुन कसैलाई धेरै समय पनि लाग्दैन । नक्सलवादी आन्दोलनका प्रभावलाई एक आख्यानकारको दृष्टिले यस पुस्तकमा सुन्दर रूपमा उतार्न सक्नु झुम्पाको खुबी हो । यो पढिसकेपछि उनका अन्य कृति पढ्न चाहनेले ‘द नेमसेक’ पढ्दा हुन्छ ।

Page 26
हेल्लो शुक्रवार

आउँदै छ फिल्म

- कान्तिपुर संवाददाता

आफ्ना आफन्तहरु दसैं मनाउन र टीका थाप्नका लागि घर फिर्ने क्रम चुलिएको छ । दसैंले सबैमा हर्षोल्लास र कामको थकान मेट्ने अवसर जुटाइदिने गर्छ । त्यसैले यस्ता बेला धेरैका मन पुस्तक पढ्न वा फिल्म हेर्न लालायित हुने गर्छ । कतिपय घरमै बसेर पुराना फिल्म हेर्न रूचाउँछन् भने नयाँ रिलिजका लागि पनि यसपालिको दसैंमा उल्लेख्य फिल्म आउनेछन् । रिलिजअघि चर्चामा रहेका केही फिल्म :

 

छक्का पञ्जा ३
घटस्थापनाको दिन बुधबारदेखि नै छक्का पञ्जा ३ ले आफ्नो प्रदर्शनी थालिसकेको छ । टेलिभिजनमा तीतो सत्य सिरियल बन्द गरेर फिल्म निर्माणमा होमिएका दीपकराज गिरी र दीपाश्री निरौलाको जुगलबन्दी यति बेला फिल्ममा पनि फस्टाएको छ । फिल्म पनि कमेडी शैलीमा नै बनाएर दर्शक हँसाउन सफल यो जोडीका फिल्म एकपछि अर्को ब्लकबस्टर्स बनिरहेका छन् ।


एक्सन र लभस्टोरी फिल्मको बाहुल्य रहेका बेला कमेडी फिल्मको लहर ल्याउने श्रेय पनि दीपक–दीपालाई नै जान्छ । त्यसअघि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका कमेडी फिल्म नै पनि फ्लप थिए । अचेल छक्का पन्जाको कमेडी ह्याङ अधिकांश फिल्ममा देखिन्छ । फिल्मको विधा नै नभए पनि ट्रेलर कमेडी बनाएर भए पनि दर्शक तान्ने प्रयास गरिन्छ । दैनिक जीवनको थकान र तनावलाई बिर्सेर केवल दुई घण्टा मज्जाले हाँस्नका लागि पनि यसपालिको दसैंमा छक्का पञ्जा ३ उपयुक्त खुराक हुन सक्छ ।


अनुप्रास मिलेका संवाद र चुट्किला शैलीलाई दर्शक हँसाउने मुख्य हतियार बनाएको छक्का पञ्जा टिमले यसपटक केही फरक दिन खोजेको छ । अर्थात् विषयवस्तु केन्द्रित हुन खोजेको छ । शिक्षामा हुने चरम राजनीतिको गाउँ स्तरमा देखिएको प्रभावलाई हास्यरसमा घोलेर दर्शकलाई पस्केको छ । दीपकराज गिरीले राजाकै भूमिका निर्वाह गरेका छन् भने ग्याङमा जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल छुट्ने कुरै भएन । यसपटक यो टिममा नायिका दीपिका प्रसाईंको प्रवेशले नयाँपन दिन खोजेकी छन् । उनकै इन्ट्रीले राजाको हैकम डगमगाउँछ ।

 


हेलिकप्टर एला
आज शुक्रबार रिलिज भएको बलिउड फिल्म हेलिकप्टर एला पनि दर्शकका लागि विकल्प हुन सक्छ । परिणिता हुँदै बलिउडमा निर्देशकका रूपमा जबर्जस्त डेब्यु गरेका प्रदीप सरकार अक्सर महिला केन्द्रित भूमिकामा फिल्म बनाउन रुचाउँछन् । लगाचुनरी मेंदाग, मर्दानी उदाहरण हुन् ।


यसपटक पनि काजोललाई मुख्य भूमिकामा पस्केर उनले हेलिकप्टर एला लिएर आएका छन् । काजोलले पेसाले गायिका र अवस्थाले एकल आमाको भूमिका निर्वाह गरेकी छन् । तीन वर्षअघि शाहरुख खानसँग दिलवालेमा पुनरागमन गरे पनि त्यसपछि काजोलका लागि बलिउड खासै जम्न सकेन । यतिबेला उनी गुजराती नाटक बेटामा आधारित हेलिकप्टर एलाबाट पुन:स्थापित हुनेमा आशावादी छिन् ।


अ स्टार इज बर्न
ओस्कर अवार्डमा चार–चार पटक मनोनयनमा परेका ब्राड्ली कुपर गतिला अभिनेता हुन् । ह्याङओभरका अभिनेता ब्राड्ली आफूलाई उत्तिकै गतिलो निर्देशक पनि भएको प्रमाणित गर्न अ स्टार इज बर्न लिएर आएका छन् । म्युजिक रोमान्टिक यो फिल्म पनि शुक्रबार नै रिलिज भयो ।


सन् १९३७ मा यही नाममा बनेको फिल्मलाई रिमेक गरेका ब्राड्ली फिल्मको मुख्य अभिनेता आफैं छन् भने अपोजिटमा विख्यात गायिका लेडी गागा । प्रि–प्रोडक्सनमा लामो समय खर्चिएको यस फिल्ममा पहिले वियोन्सेदेखि लियोनार्दो डी क्याप्रिओ, विल स्मिथ, टम क्रुजसम्मलाई खेल्ने प्रस्ताव गरिएको थियो । अ स्टार इज बर्नलाई यसपटकको ७५ औं भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा गरिएको प्रिमियरबाट राम्रो प्रशंसा मिलेको थियो भने यहींबाट नै ब्राड्लीले आफूलाई क्षमतावान निर्देशकका रूपमा उभ्याएको पनि टिप्पणी आए ।


फ्राई डे
केही साताअघि गोविन्दा नेपाल आउँदा उनले फ्राई डेको प्रचार पनि गर्न भ्याएका थिए । नेपाली चेली विवाह गरेकाले पनि गोविन्दालाई आफ्ना फिल्म नेपालमा राम्रै हेरिन्छ भन्ने विश्वास रहेछ ।


कुनै बेला लगभग एकै समयमा ७५ फिल्ममा साइन गरेको बताउने गोविन्दा अचेल प्राय: फुर्सदिला छन् । त्यसैले उनको करिअरका लागि पनि फ्राई डे चल्नु आवश्यक छ । अभिषेक दोग्राको निर्देशन रहेको फ्राई डे स्वदेशी फिल्मको कमेडी चाखेका दर्शकका लागि स्वाद फेर्ने अवसर पनि हुन सक्नेछ ।

 

जय भोले
कुनै बेला नेपालमा विदेशी फिल्मको हालिमुहाली थियो भने स्वदेशी फिल्म दर्शकले सान्त्वनाका लागि मात्रै हेर्थे । तर अहिले अवस्था उल्टिएको छ । नेपाली फिल्मले पनि मल्टिप्लेक्स कब्जा जमाउन थालेका छन् भने छानिएका विदेशी फिल्म मात्रै चल्न थालेका छन् । विदेशी फिल्म ल्याएर यहाँ चलाउने वितरक पनि पछिल्लो समय ठूला नेपाली फिल्म रिलिज हुँदा हच्किन थालेका छन् । त्यसैले पनि यो दसैंको घटस्थापनामा छक्का पन्जा ३ र फूलपातीदेखि जय भोले प्रदर्शनमा आउने पक्का गरेपछि विदेशी फिल्म खासै आउन सकेन ।


दुई साथी जय र भोलेको मित्रताको कथा बोकेको जय भोले यसपालि दसैंमा छक्का पन्जा ३ हेरिसकेका दर्शकका लागि पनि मनोरञ्जनको बोनस हुन सक्छ । कम्तीमा फिल्मको ट्रेलरले त्यही छनक दिन्छ । तर फिल्मका लेखक तथा मुख्य अभिनेता खगेन्द्र लामिछाने भने दर्शकलाई ट्रेलरमा मात्रै सीमित रहेर नसोच्न आग्रह गर्छन् । उनका अनुसार, फिल्मको गुदी त अर्कै छ । कमेडी त केवल फिल्मको बोक्रा मात्रै हो । हुन पनि खगेन्द्रका कोर फ्यानले उनीबाट गुदी कुराकै आशा बढी गर्छन् ।


अशोक शर्मा एक दशकपछि फेरि निर्देशनसहित जय भोलेमार्फत फर्किएका छन् । उनी पनि विश्वस्त हुँदै भन्छन्, ‘फिल्म हेर्ने दर्शकले आँखा झिमिक्क गर्न पाउने छैन । हामीले कतै पनि अल्छी लाग्ने ठाउँ छोडेका छैनौं ।’ दुई विपरीत स्वभावका दुई साथीको भूमिकामा खगेन्द्र र सौगात मल्ल अभिनीत छन् भने फिल्ममा बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेतसहित कमेडी कलाकारको ठूलै डफ्फा रहेको छ । सम्भवत: छक्का पन्जा ३ र जय भोलेले नै तिहारसम्मका लागि हल छोड्ने छैनन् भने यस अवधिमा आशा गरिएका अन्य कुनै नेपाली फिल्म पनि रिलिज हुने छैनन् ।

 


र, अरू
दसैंको टीकाकै दिन शुक्रबार पारेर बलिउड फिल्म भैया जी सुपरहिट, बधाई हो, नमस्ते इंग्ल्यान्ड रिलिज हुँदैछन् । नीरराज पाठकको निर्देशन रहेको एक्सन कमेडी फिल्म भैया जी सुपरहिटमा सनी देवल, प्रिटी जिन्टा, अमिसा पटेल, अरसद वारसीलगायतको अभिनय रहेको छ । बनारसी डनको भूमिकामा रहेका सनी फिल्म खेल्न चाहन्छन् । फिल्ममा प्रिटीले सनीको पत्नीको भूमिका निर्वाह गरेकी छन् भने अमिसा हिरोइन र अरसद निर्देशकका रूपमा देखिनेछन् ।


नमस्ते लन्डनको सिक्वेल भनिएको नमस्ते इंग्ल्यान्ड पनि रोमान्टिक फिल्म नै हो । आँखे, वक्त, नमस्ते लन्डन, लन्डन ड्रिम्सजस्ता हिट फिल्म दिइसकेका विपुल शाहको निर्देशन रहेको यस फिल्ममा अर्जुन कपुर र परिणीति चोपडाको मुख्य भूमिका रहेको छ । आफ्नी पत्नीको खोजीमा लन्डन पुगेको पति र सपनाको खोजीमा लन्डन पुगेकी पत्नीबीचको कथालाई फिल्ममा बुनिएको छ ।


रोमान्टिक कमेडी फिल्म बधाई हो अमित रवीन्द्रनाथ शर्माले निर्देशन गरेका हुन् । आयुष्मान खुराना र सान्या मल्होत्राले यसमा अभिनय गरेका छन् ।