You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
Page 3
मुख्य पृष्ठ

सांसद खड्काले १५ वर्षदेखि कब्जा गरेको स्काउटको जग्गा प्रशासनको नियन्त्रणमा

- सुदीप कैनी

(काठमाडौं)
कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति सिल गरी नियन्त्रणमा लिएको छ ।
स्वयंसेवी संस्था स्काउटसँग ३ रोपनी जग्गा भाडामा लिई आसपासमा थप ९ रोपनी जग्गा १५ वर्षदेखि नेपाल संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद खड्काले हडपेका थिए । उनी सञ्चालक रहेको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटको जग्गा लिएर व्यापारिक प्रयोजनका लागि अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएका थिए । ३ रोपनी जग्गाको भाडा सम्झौता ५ वर्षअघि नै सकिए पनि उनले स्काउटलाई फिर्ता गरेका थिएनन् । दुई वर्षअघि उच्च अदालत पाटनले फिर्ता गर्नुपर्ने फैसला सुनाए पनि अटेर गरी कब्जामै राखेका थिए ।
बिहीबार कान्तिपुर दैनिकले ‘कांग्रेस सांसद
खड्काद्वारा स्काउटको १२ रोपनी जग्गा र
भवन कब्जा’ शीर्षकमा समाचार प्रकाशित
गरेको थियो ।

बिहीबार नै सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, लैनचौर प्रहरी वृत्तका डीएसपी सत्यनारायण थापा र काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ख्याम तिवारीलगायतको टोलीले उक्त जग्गा भएको क्षेत्रमा सिलबन्दी गरी नियन्त्रणमा लिएको हो । प्रशासन र प्रहरीको टोली दिउँसो नै सिल गर्न लैनचौर पुगेको थियो । खड्काले भाडामा लगाएको लैनचौर ब्यांकेटमा विवाहको पार्टी चलिरहेकाले राति ९ बजेपछि मात्रै सिल गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । हडपिएको जग्गा सरकारको नियन्त्रणमा ल्याएर बिहीबारदेखि नै उक्त क्षेत्रमा प्रहरीद्वारा सुरक्षा दिन थालिएको उनले बताए । ‘आफ्नो जग्गा फिर्ता दिन स्काउटले पटकपटक आग्रह गरे पनि अटेरी गरेर कानुनविपरीत नियन्त्रणमा लिइरहेको देखियो । प्रशासनले सिल गरेर सरकारी जग्गा आफ्नो नियन्त्रणमा लिएको हो,’ उनले भने । प्रक्रिया पूरा गरेर उक्त जग्गा स्काउटलाई नै हस्तान्तरण गरिने बस्नेतले जनाए ।
सांसद खड्काले कब्जा गरी पार्टी प्यालेस र रेस्टुराँ सञ्चालन गरिएको ४ ठाउँमा सिल लगाइएको सहायक प्रजिअ शर्माले बताए । दुई वटा मूल गेट, पार्टी प्यालेस र रेस्टुराँको प्रवेशद्वारमा सिल
लगाइएको छ । ‘अनधिकृत रूपमा प्रयोग हुँदै आएको जग्गा, भवन पूर्ण रूपमा हाम्रो नियन्त्रणमा लिएका छौं,’ सिल गर्ने कार्यमा स्काउटको जग्गा स्थल लैनचौरमा भेटिएका शर्माले कान्तिपुरसित भने, ‘तर ब्यांकेटमा शुक्रबार हुने पार्टीमा कुनै बाधा पर्ने छैन । मानवीय हिसाबले पनि पार्टी हुन दिन लागेका हौं । हाम्रो नियन्त्रण र निगरानीमा शुक्रबारका लागि मात्रै पार्टी सञ्चालन हुन्छ । शनिबारदेखि कुनै पनि गतिविधि गर्न पाइँदैन ।’ स्काउटले जग्गा खाली गर्न पटकपटक पत्राचार र गोरखापत्रमा सार्वजनिक सूचना गर्दा पनि अटेरी गरेकाले सिलबन्दी गर्नुपरेको उनले जनाए ।
सांसद खड्काले भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ स्काउटलाई भुक्तानी गर्न लामो समयदेखि अटेर गरिरहेका थिए । अर्कोतर्फ व्यापारिक संस्थालाई दिएर भाडा भने असुलिरहेका थिए । भाडामा लिएको ३ रोपनी जग्गामा खड्काले लैनचौर ब्यांकेट र माई च्वाइस रेस्टुरेन्टलाई भाडामा लगाएका थिए । ब्यांकेट र रेस्टुरेन्टको संरचना ५ रोपनीमा फैलिएको छ । बाँकी करिब ७ रोपनी जग्गामा सशुल्क पार्किङ राखेका छन् । उनले स्काउटकै जग्गामा पार्टीको झन्डासहित आफ्नो सम्पर्क कार्यालयसमेत खोलेका थिए । स्काउटले जग्गा फिर्ता लिन ताकेता बढाएपछि सम्पर्क कार्यालय भने डेढ वर्षअघि हटाएका थिए । स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि सरकारले हटाउन सहयोग गरेको थिएन । अदालतको फैसलासमेत नमानेको भन्दै स्काउटले जग्गा तथा भवन फिर्ता गराउन राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृहमन्त्री, खेलकुदमन्त्री, सबै सांसद, संसदीय समितिहरू, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत राज्यका सबैजसो निकायलाई पत्राचार गरेर हारगुहार गर्दै आएको थियो । तालुक मन्त्रालयका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसमक्ष निवेदन दिएपछि अदालतको आदेशअनुसार जग्गा र भवन खाली गराउनुको सट्टा छानबिन समिति गठन गरेर सरकारी जग्गा फिर्ता ल्याउन ढिलासुस्ती गर्दै आएका थिए । अन्य सरकारी निकायबाट पनि सुनुवाइ नभएको स्काउटले गुनासो गर्दै आएको थियो ।
बिहीबार भने मन्त्री श्रेष्ठले अदालतको फैसलाबमोजिम जग्गा तथा भवन फिर्ता ल्याउन सुरु गरिएको बताएका छन् । ‘उच्च अदालतको फैसलाबमोजिम लैनचौरस्थित स्काउटको जग्गामा सिलबन्दी गर्न सुरु गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले यसअघि नै पाँच सदस्यीय छानबिन समिति बनाएर कार्य अघि बढाइसकेकामा विधिवत् रूपमा थप कारबाही उक्त समितिको सिफारिस बमोजिम अगाडि बढाइनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
खड्का सञ्चालक रहेको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएको थियो । सम्झौताको म्याद २०७५ मै सकिए पनि सम्झौताअनुसार भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ खड्काले भुक्तानी नगरेको स्काउटका निर्देशक रामप्रसाद भट्टराईले बताए । उक्त रकम भुक्तानी नगरे कानुनी प्रक्रियामा जाने स्काउटले जनाएको छ । खड्काको कम्पनीले ३ रोपनी जग्गा लिएको थियो ।
लगत्तै उनले आसपासको थप ९ रोपनी जग्गा १५ वर्षदेखि हडपेर दुरुपयोग गरिरहेका थिए । स्काउटले २०७५ माघ १० मा प्रालिलाई जग्गा खाली गराउन निर्देशन दिएको थियो । त्यसपछि स्काउटको उक्त जग्गासम्बन्धी विवाद जिल्ला अदालत काठमाडौं हुँदै उच्च अदालत पाटनसम्म पुगेको थियो । काठमाडौं जिल्ला अदालतले कम्पनीकै पक्षमा आदेश दिए पनि २०७९ असार १३ मा उच्च अदालत पाटनले जिल्लाको आदेश बदर गर्दै स्काउटको पक्षमा फैसला गरेको हो । जग्गा भाडा सम्झौता नवीकरण नभएपछि अदालतको आदेशअनुसार प्रालिले जग्गा छाड्नुपर्नेमा कब्जा गरिराखेको थियो । ३ रोपनी जग्गा भाडाको म्याद ५ वर्ष थप गर्न माग गर्दै बाँकी जग्गा पार्किङका लागि निःशुल्क पाउनुपर्ने जिकिर प्रालिले गर्दै आएको थियो ।

मुख्य पृष्ठ

अध्यादेशबाट आठ कानुन संशोधन हुँदै, ३६ देशका लगानीकर्ता आउँदै

- जयसिंह महरा

(काठमाडौं)
सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई लक्ष्य गरेर ऐनमा संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । गत कात्तिक २३ मा बसेको मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलन गर्ने निर्णय गरे पनि स्वदेशी तथा विदेशी लगानीका लागि सहज हुने कानुनी व्यवस्था गर्न र लगानीका लागि अप्ठ्यारो बनिरहेका ऐन संशोधन संसद्बाट हुन नसकेपछि सरकारले अध्यादेश ल्याउन लागेको हो ।
सम्मेलनमा ३६ देशका ४६२ जनाभन्दा
बढी लगानीकर्ता सहभागी हुने सुनिश्चित
भएको लगानी बोर्डले जनाएको छ । बोर्डले सम्मेलनमा निजी क्षेत्र, प्रदेश र स्थानीय तहका समेत गरी ९ खर्ब रुपैयाँ बराबरका १ सय ४८ भन्दा बढी परियोजना सोकेस गर्ने तयारी गरिरहेको छ ।
नेपालले यही वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलन गर्न लागेको हो । सम्मेलनलाई लक्ष्य गरी सरकारले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न’ बनेको अध्यादेश ल्याउन लागेको छ । अध्यादेशमार्फत विभिन्न ८ वटा ऐनका विभिन्न व्यवस्था
संशोधन गर्न लागिएको छ । सरकारले लगानी सम्मेलन घोषणा गरी तयारी थालेपछि संघीय संसद्को एउटा अधिवेशन नै सकिए पनि त्यहाँबाट कानुन बनाउन न सरकार अगाडि सरेको थियो, न संसद्ले नै लगानी सम्मेलनलाई लक्ष्य गरेर कानुन बनाउन दबाब दियो । फलस्वरूप सरकारले संघीय संसद्को अधिवेशन वैशाख २ मा अन्त्य गरी अध्यादेश ल्याउने तयारी तीव्र पारेको हो ।
मन्त्रिपरिषद्को बिहीबारकै बैठकबाट अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गर्ने तयारी थियो । तर अध्यादेशको ड्राफ्टलाई अन्तिम रूप दिन बाँकी रहेकाले अर्को बैठकबाट अध्यादेश शीतल निवास पुर्‍याउने तयारी भइरहेको बताइएको छ । गत कात्तिक २३ मा बसेको मन्त्रिपरिषद् बैठकबाट ०८१ वैशाख ९ र १० मा लगानी सम्मेलन गर्ने भनिएको थियो । गत पुसमा भने लगानी सम्मेलनको मिति एक साता सारेर ०८१ वैशाख १६ र १७ मा आयोजना गर्ने निर्णय भएको थियो ।
लगानी प्रवर्द्धन गर्ने कार्यलाई प्रवर्द्धन गर्न
केही नेपाल ऐन संशोधन गर्न वाञ्छनीय
भएकाले अध्यादेश ल्याउन लागिएको सरकारको स्पष्टोक्ति छ । यो अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन, ०२१, जग्गा प्राप्ति ऐन, ०३४, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, ०६३, विशेष आर्थिक क्षेत्र ऐन, ०७३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, ०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, ०७५, वन ऐन ०७६ र औद्योगिक व्यवसाय ऐन, ०७६ लाई संशोधन गर्न लागिएको हो ।

देशमा लगानी ल्याउन सहज हुने कानुनी व्यवस्था गर्न अध्यादेशमार्फत ऐन संशोधन गर्न लागिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । विभिन्न मन्त्रालय र निकायका साथै निजी क्षेत्रको छलफल र परामर्शमा सरकारले अध्यादेश ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको उनको भनाइ छ । ‘आवश्यक कानुन बनाउन सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरेका छौं । अहिले संसद् अधिवेशन नभएकाले अध्यादेश ल्याउने तयारी भइरहेको छ,’ मन्त्री गिरीले भने, ‘उद्यमी व्यवसायीसँगको सुझावलाई पनि समेटेर ऐन संशोधन गर्न अध्यादेश ल्याउन लागेका हौं ।’ संसद्को अधिवेशन चलेको भए पनि लगानी सम्मेलनअगावै विधेयक पारित हुने सम्भावना नरहेकाले सरकारले अध्यादेश ल्याउनुपरेको मन्त्री गिरीको भनाइ छ ।
भूमिसम्बन्धी ऐन, ०२१ मा उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले हदबन्दीभन्दा बढी जग्गा लिनुपर्ने भए के गर्ने भन्ने व्यवस्था थपिएको छ । उद्योगले हदबन्दीभन्दा बढी जग्गा आवश्यक रहेको औचित्य पुष्टि हुने कारण खोली एक वर्षभित्र स्वीकृतिका लागि मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष निवेदन दिन सक्ने व्यवस्था थप गरिएको छ । अधिकतम हदबन्दीभन्दा बढी जग्गा राख्ने सार्वजनिक संस्था, उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षण संस्था वा अन्य कुनै संस्थाको रोजगारी तथा उत्पादन नघट्ने र निरन्तर सञ्चालन हुन सक्ने भएमा ऋण फरफारक र दायित्व भुक्तानी गर्नको ऐनमा तोकिएको हदभित्रको जग्गा मन्त्रालयले तोकेको सर्तको अधीनमा रही मन्त्रालयको स्वीकृतिमा एक पटकका लागि बिक्री वितरण गर्न बाधा नपर्ने कानुनी व्यवस्था गरिएको छ ।
सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, ०६३ मा विदेशी विनिमय भुक्तानीको सिफारिस गर्न सक्नेबारेको व्यवस्था थपेको छ । ‘कम्प्युटर नेटवर्क वा कम्प्युटर प्रणालीमा प्रयोग हुने कुनै सफ्टवेयर, हार्डवेयर वा कम्प्युटर वा सूचना प्रविधिसँग सम्बन्धित सामग्री वा सेवा विदेशबाट आयात गर्दा विदेशी मुद्रामा रकम भुक्तानी गर्नुपर्ने भई सम्बन्धित लगानीकर्ताले त्यस्तो सामग्री वा सेवा नेपालमा भित्र्याउन विदेशी मुद्रा सटही सुविधा माग गरे सूचना प्रविधि विभागले प्रचलित कानुनबमोजिम विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंकमा सिफारिस गर्नुपर्नेछ,’ उक्त व्यवस्थामा भनिएको छ ।
यो ऐनमा नेपालमा स्थापित सूचना प्रविधिमा आधारित व्यक्ति, फर्म, उद्योग वा कम्पनीले निर्माण गरेको सफ्टवेयर वा सूचना प्रविधि विषयसँग सम्बन्धित सेवा निर्यात गरी आर्जित रकम स्वदेशमा भित्र्याउने प्रयोजनका लागि विदेशमा शाखा कार्यालय वा इकाई खोली व्यापारिक कारोबार गर्न आवश्यक भए सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस्तो शाखा कार्यालय वा इकाई खोल्न अनुमति दिने व्यवस्था गरिएको छ । यस्तो शाखा वा इकाई खोल्न राष्ट्र बैंकले सटही सुविधा दिनुपर्ने व्यवस्था छ ।
विशेष आर्थिक क्षेत्र ऐन, ०७३ मा संशोधन गरी अध्यादेशले विशेष आर्थिक क्षेत्रमा उद्योग स्थानान्तरण गरी सञ्चालन गर्न सक्ने व्यवस्था थप गरेको छ । त्यसका लागि यो दफा प्रारम्भ हुँदाका बखत प्रचलित कानुनबमोजिम दर्ता भई वा अनुमतिपत्र लिई सञ्चालनमा रहेको उद्योगको लगानीकर्ताले प्रयोगमा ल्याइसकेको मेसिन, औजार वा उपकरण विशेष आर्थिक क्षेत्रमा स्थानान्तरण गरी उद्योग सञ्चालन गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
वन ऐन, ०७० मा नयाँ व्यवस्था राख्दै ‘राष्ट्रिय वनभित्र खनिज पदार्थ रहेको पत्ता लागि उत्खनन गर्नुपर्ने भए प्रचलित कानुनबमोजिम वातावरणीय अध्ययन गरी त्यसरी उत्खनन गर्दा वातावरणमा उल्लेख्य प्रतिकूल असर नपर्ने भए त्यस्तो खनिज पदार्थ उत्खनन गर्नका लागि नेपाल सरकारले वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिन सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ ।
औद्योगिक व्यवसाय ऐन, ०७६ मा संशोधन गर्दै सरकारले स्टार्टअप उद्यम वा व्यवसायलाई प्रवर्द्धनको व्यवस्थाबारे व्यवस्था गरेको छ । तीन तहका सरकारले उद्यम संवर्द्धन केन्द्रको स्थापना तथा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । स्टार्टअप उद्यम वा व्यवसाय दर्ता गर्ने निकायले सोसम्बन्धी विवरणको छुट्टै अभिलेख तयार गर्नुपर्ने कानुनी व्यवस्था गर्न लागिएको हो ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, ०७५ मा संशोधन गरी सरकारले उद्योग र विदेशी लगानीकर्ताबीच वा नेपालमा स्थापना भई सञ्चालनमा रहेको उद्योग वा कम्पनी र विदेशस्थित उद्योग, फर्म वा कम्पनीबीच पेटेन्ट, डिजाइन, ट्रेडमार्क, व्यापारिक ख्याति (गुडविल), प्राविधिक विशिष्टता, प्राविधिक ज्ञानको प्रयोग (फ्रेन्चाइज), सूत्र (फर्मुला), प्रक्रिया, उपयोगको इजाजत (युजर्स लाइसेन्स) वा प्राविधिक जानकारी प्रदान (नो हाउ सेयरिङ), व्यवस्थापन तथा प्राविधिक सेवा, रिभर्स इन्जिनियरिङ हस्तान्तरण हुने उल्लेख छ ।
‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा स्थापना भई सञ्चालनमा रहेको उद्योग वा कम्पनीले विदेशस्थित उद्योग, फर्म वा कम्पनीमा प्रविधि हस्तान्तरण गर्न सक्नेछ,’ अध्यादेशमा प्रस्ताव गरिएको छ, ‘प्रविधि हस्तान्तरण गरेबापत प्राप्त हुने विदेशी मुद्रा नेपाल राष्ट्र बैंकको अनुमति लिई नेपालमा भित्र्याउनुपर्नेछ । प्रविधि हस्तान्तरण गर्न कुनै उद्योग, फर्म वा कम्पनीले विभागको अनुमतिमा सम्बन्धित देशमा आफ्नो शाखा कार्यालय वा इकाइ खोल्न सक्नेछ ।’ सरकारले ल्याउन लागेको अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि कानुनका रूपमा कार्यान्वयनमा जानेछ । उक्त अध्यादेशलाई संघीय संसद्को अधिवेशन सुरु भएको ६० दिनभित्र दुवै सदनबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
लगानी बोर्डका अनुसार विभिन्न नियोगका प्रमुख, चेम्बर अफ कमर्सका पदाधिकारी, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारी लगानी सम्मेलनमा भाग लिनेछन् । विभिन्न देशका १३ सय ५५ जनालाई लगानी सम्मेलनमा भाग लिन निम्ता पठाइएकामा उक्त संख्यामा लगानीकर्ता तथा पदाधिकारी आउने सुनिश्चित भइसकेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।
सम्मेलनमा सहभागी हुने सबैभन्दा धेरै स्वदेशी व्यवसायी १६१ जना छन् । चीनका ६४ र भारतका ५७ जना लगानीकर्ता तथा प्रतिनिधि आउने तय भइसकेको छ । यूएनलगायत विभिन्न संस्थाबाट ६० जना सहभागी हुनेछन् । जर्मनीबाट १२ जना, बेलायतबाट ११ जना, अमेरिकाबाट १० र बंगलादेशबाट १० जना सहभागी हुने तय भइसकेको छ । यूएईबाट ८, जापान ८, कोरियाबाट ७, पाकिस्तान र अस्ट्रेलियाबाट ६/६ जना आउनेछन् । सिंगापुर र मलेसियाबाट ४/४ जना आउनेछन् । रुस, फिनल्यान्ड, कोलम्बिया र क्यानडाबाट ३/३ जनाका दरले सहभागी हुनेछन् । कतार, युरोपेली संघ (ईयू), बेल्जियम, बहराइन, अस्ट्रियाबाट भने २/२ जना प्रतिनिधि आउने भएका छन् । भियतनाम, भानुआतु, टर्की, थाइल्यान्ड, स्विट्जरल्यान्ड, श्रीलंका, साउदी अरेबिया, रोमानिया, मोरक्को, मौरिसस, साइप्रसबाट १/१ जना प्रतिनिधि आउने कार्यक्रम छ ।
बोर्डका अनुसार २० वटा परियोजनाको आशय पत्र, मार्केटिङ साउन्डिङ ७, पहिचानको चरण ११, वित्तीय व्यवस्थापनका लागि १८, प्रस्तुतीकरण २७, लगानीको खोजी १४, निजी क्षेत्रले छनोट गरेको ३१ परियोजना छन् । पहिलो ‘लगानी सम्मेलन–२०१७’ मा स्वदेशी तथा विदेशी लगानीकर्ताले १४ खर्ब ४६ अर्ब ६४ करोड रुपैयाँ बराबरको आशयपत्र बुझाए पनि अहिलेसम्म ३ खर्ब ३५ करोड ४७ लाख रुपैयाँ मात्रै भित्रिएको लगानी बोर्डले जनाएको छ ।
दोस्रो ‘लगानी सम्मेलन–२०१९’ मा स्वदेशी तथा विदेशी लगानीकर्ताले करिब १७ खर्ब ३० अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरिएकामा १ अर्ब १८ करोड रुपैयाँ मात्र भित्रिएको छ । दोस्रो सम्मेलनमा सरकारी र निजी गरी ७७ वटा आयोजना ‘सोकेस’ गरिएको थियो । गत भदौमा १२ औं स्थापना दिवस मनाएको लगानी बोर्डले १२ खर्ब ५० अर्ब लगानी स्वीकृत गरेको छ । बोर्डले ४२ वटा परियोजनामा उक्त रकम बराबरको लगानी स्वीकृत गरेको हो । ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्रका १४ परियोजना रहेको बोर्डको भनाइ छ । हालसम्म ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन भएको बोर्डले जनाएको छ । यस अवधिमा १ खर्ब ३७ अर्ब ८६ करोड रुपैयाँ लगानी भित्रिइसकेको छ ।

Page 4
म्यागेजिन

सुदूरपश्चिममा लिएको अडानबाट गठबन्धन बचाउन पछि हटे ओली

- कुलचन्द्र न्यौपाने

(काठमाडौं)
एमाले अध्यक्ष केपी शर्मा ओलीले अडान छाडेपछि सुदूरपश्चिममा गठबन्धनभित्रबाटै एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएका छन् ।
एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूहका सांसद) र स्वतन्त्र सांसदको
समर्थन जुटाएका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री सोडारीले बिहीबार नै प्रदेश प्रमुख नजिर मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसँगै नागरिक उन्मुक्तिका कैलाश चौधरीले पनि भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन् ।
एमालेले केन्द्रबाट सोडारीलाई मुख्यमन्त्रीमा
समर्थन नगर्ने निर्देशन दिएपछि बिहीबार दिउँसोसम्म गठबन्धन दलहरूका बीचमा अन्योल थियो । दिउँसोसम्म एमाले सांसदहरूले पार्टी अध्यक्षबाट निर्देशन नआएसम्म समर्थन नगर्ने अडान कायम राखेपछि सोडारीले कांग्रेससँग मिलेर भए पनि दाबी पेस गर्ने तयारी सँगसँगै अघि बढाएका थिए ।
एमालेको विरोधका बीच नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद सुरु गरेपछि गठबन्धन बचाउने दबाबमा परेका ओली अन्ततः पछि हटेर सोडारीलाई मुख्यमन्त्री स्विकार्न तयार भएका हुन् । तर, सोडारी नेतृत्वको सरकारमा भने तत्काल सहभागी नहुने एमाले नेताहरूले बताएका छन् ।
‘अध्यक्षबाट तत्काल सरकारमा सहभागी नहुनु
भन्ने निर्देशन छ,’ एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने, ‘हामी केन्द्रको निर्देशनअनुसार मात्रै
अघि बढ्छौं ।’ अर्को सहयोगी दल माओवादी केन्द्रले
पनि बिहीबार कसैलाई मन्त्री पठाएको छैन । कसलाई मन्त्री बनाउने भन्ने निर्णय नभएकाले बिहीबार नै
केही मन्त्रीलाई शपथ खुवाउने सोडारीको उद्देश्य
पूरा हुन सकेन ।

कांग्रेस नेता नारायण खड्काको गल्फुटारस्थित निवासमा बुधबार देउवा र नेपालबीच भएको संवादमा तत्काल सुदूरपश्चिम सरकारबाट सहकार्यको थालनी भएमा त्यसले अन्ततः नयाँ गठबन्धन निर्माणको चरणमा पुर्‍याउने निष्कर्ष निकालेको थियो । एमालेले समर्थन नगरेमा एकीकृत समाजवादीकै निर्णयअनुसार सोडारीलाई मुख्यमन्त्री बनाउन देउवा उत्साही भएका थिए । त्यो सूचना बाहिरिएपछि दबाबमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच बिहीबार साँझ बालुवाटारमा भएको सघन संवादपछि सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गठबन्धनबाटै भएको थियो । एमाले अध्यक्ष ओलीले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई टेलिफोन गरेर समर्थन गर्न निर्देशन गरेपछि सोडारीले अपराह्न चार बजे प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीबाटै मुख्यमन्त्रीमा परेको दोहोरो दाबीलाई यसअघि खारेज गर्दै दोस्रो पटक बिहीबार साँझ ५ बजेसम्म समयसीमा तोकेका थिए । ‘हामीले एमालेको निर्णय पर्खेर बसेका थियौं, एमालेले सहयोग नगर्न साथ हाम्रो समर्थन हुने थियो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘तर एमालेले समर्थन गरेपछि हामीले साथ दिनै नपर्ने भयो । दिएनौं ।’
सोडारी ०७४ को निर्वाचनपछि नेकपाकालीन सरकारका बेला सामाजिक विकासमन्त्री थिए । ‘एक महिलासँगको अश्लील संवादको अडियो’ का आधारमा उनीमाथि नैतिक प्रश्न उठाउँदै पार्टीले मन्त्रीबाट बर्खास्त र अनिश्चितताका लागि पार्टीबाट हटाइएको थियो । उनीमाथि लागेको आरोपमा सफाइ पाइसकेपछि एमालेले बखेडा झिकेको भन्दै समाजवादीका नेताहरूले कांग्रेससँगको गठबन्धनमा जोड दिँदै आएका थिए । एमालेले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भए पनि सोडारीको विकल्प खोज्न चाहेको थियो । उनको पुरानो पृष्ठभूमिलाई कारण देखाएर अन्तिम समयसम्म अर्को व्यक्ति अघि सार्ने आग्रह गरे पनि एकीकृत समाजवादीले नमानेपछि गठबन्धन बचाउन अन्ततः दाहाल र ओली झुकेका थिए ।
एमालेको द्विविधाबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्यका लागि संवाद अघि बढाएका थिए । एमालेले समर्थन नगरेमा कांग्रेसले साथ दिने वचन देउवाबाट पाएपछि नेपाल ढुक्क थिए तर त्यसले दाहाल र ओलीलाई त्रास बढाएको थियो । अघिल्लो पटक प्रधानमन्त्रीलाई समर्थन दिएर सत्ताका लागि ‘ढोक्सा’ थापेजस्तै यस पटक सुदूरपश्चिमबाट त्यही पथ सुरु गर्ने कांग्रेसको चाहना पूरा हुन नदिन नै एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेका एक पदाधिकारीले बताए ।
‘एक पटक नैतिक प्रश्न उठिसकेपछि तिनै व्यक्तिलाई मुख्यमन्त्री बनाउँदा पाइलैपिच्छे जवाफ दिनुपर्ने हुन्छ भनेर नै विकल्प खोजिएको हो तर कांग्रेसले समर्थन जनाउन मैदानमै उत्रिन थालेपछि गठबन्धनमाथि नै केही होला भनेर समर्थन गर्न बाध्य भयौं,’ एमालेका ती नेताले भने । एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने गठबन्धनभित्र कहिलेकाहीँ पात्रका विषयमा प्रसंग उठ्नु स्वाभाविक भएको बताए । ‘प्रक्रिया अघि बढेर सरकार बनिसकेपछि पुराना कुरा कोट्याउनुको कुनै अर्थ भएन । कहिलेकाहीँ पात्रका विषयमा प्रश्न उठ्न सक्छन् । गठबन्धनभित्र मुख्यमन्त्री हुने पात्र यस्तो भए राम्रो हुन्थ्यो भन्नु स्वाभाविक हो,’ उनले भने, ‘तर सम्बन्धित दलले यो नै हाम्रो निर्णय हो भनेर भनिसकेपछि सम्झौता गर्नुपर्ने हुन्छ । त्यसलाई अन्यथा लिन हुन्न ।’
४६ वर्षीय सोडारी कैलाली–४ (१) बाट निर्वाचित सांसद हुन् । दोस्रो पटक सांसद निर्वाचित भएका सोडारी एमाले विभाजनका बेला एकीकृत समाजवादीतर्फ लागेका हुन् । प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको पहिलो चरणमा आफ्नो दललाई मुख्यमन्त्री
दिने सहमति पालना नभएको भन्दै एकीकृत समाजवादीले केन्द्रीय गठबन्धनसँगै विद्रोह गरेर कांग्रेससहितको गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण चौधरीको पक्षमा समर्थन जनाएको थियो । दुई जनाको दाबीलाई थाती राखेर बसेका प्रदेश प्रमुखले गठबन्धनबीच एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी गरेपछि दोहोरो दाबीलाई खारेज गर्दै पुनः सरकार निर्माणका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको यो भूमिकालाई प्रतिपक्ष कांग्रेसले संविधान मिच्ने हर्कतका रूपमा व्याख्या गरेको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बहुमतको दाबी लिएर जाँदा पनि प्रदेश प्रमुख गठबन्धनको छाया बन्दै संविधान मिच्ने काम गरेको बताए । कांग्रेस सभापति देउवाले अघिल्लो दिन नेपालसँग भएका कुराकानी र पार्टीले लिनुपर्ने रणनीतिका बारेमा छलफल गर्न बिहीबार काठमाडौंमा उपलब्ध पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीबीचको छलफलमा सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले संविधान मिचेको निष्कर्ष निकालेको हो । महतले गण्डकी, सुदूरपश्चिम र कोशीमा सत्ता पक्षबाट संविधान मिच्ने काम भएको भन्दै त्यसबारेमा वरिष्ठ कानुन व्यवसायीहरूसँग समेत पार्टीले छलफल गरेको बताए । गण्डकी प्रदेश सरकारलाई सर्वोच्च अदालतले काम चलाउ हैसियतमा रहन आदेश दिएपछि मुख्यमन्त्री खगराज अधिकारीले कार्यकारी भूमिका नै निर्वाह गरिरहेको प्रति कांग्रेसको आपत्ति छ । सुदूरपश्चिममा वैशाख २ गते कांग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीबाट बहुमत सांसदको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण चौधरीले दाबी पेस गर्दा प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति नगरी संविधान मिचेको निष्कर्ष कांग्रेसको छ ।
‘सुदूरपश्चिमा मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुखले पर्खनुपर्ने अवस्था थिएन । एकीकृत समाजवादीले समर्थन नगरेको कारण देखाएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति नै नगरिनु संविधानको बर्खिलाप हो,’ महतले भने, ‘यसै विषयमा हामीहरूले कानुनविद्हरूसँग पनि परामर्श गरेका हौं ।’
सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत गण्डकी प्रदेशमा सभामुखसमेतको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री बनाएको भन्दै तत्कालीन मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिट अहिले सर्वोच्चमा विचाराधीन छ । चैत २९ गतेको प्रारम्भिक सुनुवाइमा अदालतले काम चलाउ हैसियतमा काम गर्न आदेश दिएको थियो । तर, मुख्यमन्त्री अधिकारीले पूर्ण कार्यकारीकै रूपमा काम गरेकाले त्यसले अदालतको अवहेलना भएको कांग्रेसको निष्कर्ष छ । ‘अदालतको अवहेलनाका विरुद्धमा पनि मुद्दामा जानेबारे छलफल भइरहेको छ,’ महतले थपे ।

म्यागेजिन

४० वर्षअघि ग्रामीण बस्तीसम्म बत्ती पुर्‍याउन खटिएकोनर्वेजियन जोडी

- स्वरूप आचार्य

(काठमाडौं)
सोलुखुम्बुको पिके पिक बेस क्याम्पस्थित पिके सांग्रिला लज एन्ड रेस्टुरेन्टको डाइनिङ हलमा चियाको चुस्की लिँदै एक विदेशी महिला आफ्नो गाइडसँग नेपालीमा गफिइरहेकी थिइन् । उनीसँगै सेतै फुलेको दारी–कपाल भएका पाका विदेशी पनि सानो स्वरमा नेपालीमै कुराकानी गरिरहेका थिए । केहीबेर उनीहरूको भलाकुसारी सुनिसकेपछि सोधियो, ‘तपाईंहरू दुवै जना नेपाली भाषा त राम्रोसँग बोल्नु हुँदो रहेछ ।’ युवतीले मुसुक्क हाँस्दै जवाफ फर्काइन्, ‘धन्यवाद । बोल्ने प्रयास गर्छौं । तर सबै त आउँदैन ।’
चैत अन्तिम साता पिकेको बेस क्याम्पमा उचाइको सिरेटोले हिर्काउन खोज्दै थियो । त्यत्तिकैमा पाका विदेशीले भने, ‘म करिब ४० वर्षअघि नेपाल आएको थिएँ । त्यसबेला झण्डै १५ वर्षजति यहीँ बसें । उनी मेरी छोरी हुन् । यहाँ आउँदा ३ वर्षकी थिइन् । उनले त नेपाली स्कुलमै पनि पढेकी हुन् ।’ पिकेको बेस क्याम्पमा भेटिएको एक नर्वेजियन परिवार थियो त्यो ।
िि
िनर्वेका उनै म्याग्ने भेस्टोल र डोरोथिया भेस्टोलको जोडी पहिलोपटक सन् १९७९ मा नेपाल आएको थियो । ३० वर्षका म्याग्ने र २८ वर्षकी डोरोथिया भर्खरै विवाह गरेर नेपाल आएका थिए । नेपालमा दुई महिना बिताएर उनीहरू आफ्नो देश फर्किए । तर, नेपालको छविलाई भने आफ्नो मानसपटलबाट दुवैले निकाल्न सकेनन् । त्यसपछि उनीहरू १९८४ मा ३ वर्ष र डेढ वर्षका दुई छोरीसहित ‘युनाइटेड मिसन टु नेपाल’ (यूएनएम) मा आबद्ध भएर नेपाल फर्किए । पेसाले सिभिल इन्जिनियर रहेका म्याग्नेले स्याङ्जाको गल्याङस्थित आँधीखोला हाइड्रोपावर परियोजनामा काम पाए । उनले त्यतिबेला हाइड्रोपावरको निर्माणसँगै ट्रान्समिसन लाइन तान्ने जिम्मा पाएका थिए ।
ललितपुरको झम्सिखेलस्थित एक गेस्ट हाउसमा भेटेर कुराकानी गरिरहँदा त्यहाँ बाबु, आमा, छोरी तीनै जना सँगै थिए । म्याग्ने सुस्तरी बोल्छन् र कम बोल्छन् भन्ने कुरा पिके बेस क्याम्पमै भएको कुराकानीबाट पनि थाहा
भएको थियो । उनकी श्रीमती डोरोथिया भने फरासिली थिइन् । ‘काठमाडौंमा दुई साताजति सामान्य नेपाली भाषा सिकेपछि हामी त्यतिबेला स्याङ्जा पुगेका थियौं । सुरुमा हाम्रो बसाइ
ब्राह्मणहरूको समुदायमा रहेको माटोको घरमा थियो,’ उनले भनिन्, ‘हामी साँझ मात्रै पुगेका थियौं । बत्ती थिएन । टुकीकै भर थियो । थकाइले गर्दा त्यत्तिकै सुतियो ।’
बिहान उठेर घरको हालत देख्दा भने आफ्नो आँखाबाट आँसु नै झरेको उनले बताइन् । ‘नेपाल आएपछि पहिलो र अन्तिम पटक त्यही बेला मेरा आँखा रसाएका थिए,’ उनले मुस्कुराउँदै भनिन्, ‘दलिनभरि धूवाँको कालो मुस्लो र माकुराको जालोको फोहोर । भान्छामा सम्याउनै बाँकी माटोको थुप्रो । सुरुमा त कस्तो ठाउँमा आइयो भन्ने लागेको थियो । पछि सबै मिल्दै गयो । मिलाउँदै गइयो ।’
पुराना दिन सम्झिँदै आफ्नो अनुभव बताउँदा म्याग्ने र डोरोथियाको मुखाकृतिमा छुट्टै प्रकारको चमक देखिन्थ्यो । नेपालमा थुप्रै हाइड्रोपावर र अस्पताल बनाएका नर्वेजियन अड हफ्टनको प्रेरणाले नै उनीहरू नेपाल आएका थिए । अड हफ्टन पनि इन्जिनियर थिए । १९५८ मा नेपाल आएका हफ्टनले बुटवल टेक्निकल इन्स्टिच्युटको स्थापना गर्नुका साथै पाल्पाको तानसेनमा मिसन अस्पताल निर्माण गरेका थिए । उनले देशका विभिन्न भागमा हाइड्रोपावर परियोजना निर्माणका लागि पनि योगदान दिएका थिए । बुटवल पावर कम्पनी उनकै नेतृत्वमा स्थापना भएको थियो । जसले अहिले पनि हाइड्रोपावरको क्षेत्रमा काम गरिरहेको छ ।
नर्वेको विकसित समाजबाट सिधै स्याङ्जाको ब्राह्मण समुदायमा बसाइँ सर्दा त्यतिबेला भेस्टोल परिवारले महसुस गरेको फरकपनलाई शब्दमा बयान गर्न सकिँदैन । तर, नेपालमा नै केही गर्ने भन्ने उद्देश्यका साथ आएको यो जोडीले यहाँको फरकपनलाई बिस्तारै आफूअनुकूल बनाउँदै लग्यो । ‘म्याग्नेले ड्रममा पाइप जोडेर घरनजिकै नुहाउने ठाउँ बनाइदिए । पँधेरोबाट एउटी सहयोगीले पानी ल्याइदिन्थिन् । उनी लाटी थिइन्,’ उनले भनिन्, ‘म पानी लिन वा
नुहाउन धारामा जाँदा सबैले ट्वाल्ट्वाल्ती हेर्थे । त्यतिबेला साह्रै अप्ठेरो लाग्थ्यो ।’
म्याग्नेका अनुसार त्यतिबेला मिसनका मान्छे भनेपछि सबैले धर्मसँग पनि जोडेर हेर्थे । तर, उनको भनाइमा उनीहरूले समुदायभित्र कहिल्यै धर्मको कुरा गरेनन् । त्यसैले पनि साढे दुई वर्ष ब्राह्मण र त्यसपछिको ३ वर्ष मगर समुदायको
बाहुल्य रहेको क्षेत्रमा बसेर काम गर्दा कहिल्यै कसैसँग नराम्रो सम्बन्ध भएन ।
कामका सिलसिलामा प्रायः बाहिर रहने म्याग्नेले त्यतिबेलाको ग्रामीण परिवेशको ब्राह्मण समुदायमा रहँदाको धेरै समस्या खासै चाल पाएनन् । तर, डोरोथियाका लागि भने त्यो चुनौतीपूर्ण थियो । ‘बिस्तारै नेपाली बोल्न सक्ने भएसँगै छिमेकी महिलासँग म घुलमिल भएँ । उनीहरू सबैले राम्रो व्यवहार गर्थे । तर, कहिल्यै भान्सामा छिर्न दिँदैन थिए,’ उनले भनिन्, ‘सुरुमा त अजीब नै लाग्यो । तर, पछि यहाँको संस्कार नै यही रहेछ भन्ने थाहा भयो । पछि दुइटा घरले मात्रै मलाई भान्सामा छिराएनन्, अन्य सबैले भान्सासम्म सहजै पहुँच दिए ।’
आँधीखोलाबाट उत्पादित बिजुली त्यस वरपरका ठाउँमा पुर्‍याउनका लागि लाइन तान्न त्यतिबेला विभिन्न स्थानमा पुगेको विगत पनि म्याग्ने सम्झन्छन् । उनले त्यतिबेला तानसेन, सन्धिखर्क, प्यूठान हुँदै दाङसम्म तार तानेको अनुभव सुनाए । ट्रान्समिसन लाइन तान्न कैयौं दिन घरबाहिर रहँदा दुई नाबालक छोरीसँग श्रीमती स्याङ्जामै हुँदा पनि कुनै डर मान्नुपर्ने अवस्था भने नभएको उनले सुनाए । ‘त्यतिबेला फोन थिएन । म सोमबार फर्किन्छु भनेर हिँडें भने फर्किंदा बुधबार, बिहीबार हुन्थ्यो । मैले उनलाई घरबाट निस्कँदा सोमबार फर्किन्छु भने पनि शुक्रबारसम्म आइनँ भने मात्रै चिन्ता गर्नु भन्थें,’ उनले हाँस्दै भने, ‘नेपालको ग्रामीण बाटोमा एक–दुई दिन तलमाथि भनेको कुनै ठूलो कुरै थिएन । पानी परे पनि बास बस्नुपर्ने । खोला बढे पनि बास बस्नुपर्ने स्थिति थियो ।’ उनका अनुसार त्यतिबेला काठमाडौं–स्याङ्जा ओहोरदोहोर गर्न लोकल बसमै यात्रा गर्नुपर्थ्यो । कहिलेकाहीं परियोजनाको गाडी चढ्न पाए पनि त्यो सधैं मिल्दैन्थ्यो । तर, गाउँमा भने उनी मोटरसाइकल चढेर हुइँकिन्थे । ‘म गाउँमा मोटरसाइलक चढ्थें । बच्चाहरू मोटरसाइकल गुडेको हेर्नैका लागि
पछिपछि दौड्थे,’ उनले भने, ‘त्यसबेलाको
समय फरक थियो । साँचो रूपमा ग्रामीण
परिवेश थियो त्यो । अहिले नेपालमा गाउँ नै छैनन् जस्तो लाग्न थालेको छ । विकास भएको देख्दा खुसी लाग्छ । तर, सँगसँगै पर्यावरण विनाश पनि उत्तिकै भएको छ ।’
म्याग्नेका अनुसार उनको परिवार आँधीखोला परियोजनाको ट्रान्समिसन लाइन बनेपछि झिमरुक पुगेको थियो । स्याङ्जामा रहँदा भने जेठी छोरी इंग्भिल्डले त्यहाँको स्थानीय विद्यालयमा कक्षा १ सम्म अध्ययन गरेकी थिइन् । १ कक्षापछि भने उनी ललितपुरमा खुलेको नर्वेजियन विद्यालयमा बोडर्स बसिन् । उनीहरू स्याङ्जामै कार्यरत रहँदा तेस्रो सन्तानका रूपमा कान्छी छोरीको जन्म भएको थियो । ‘कान्छी छोरी तानसेन मिसन अस्पतालमा जन्मिएकी हुन्,’ डोरोथियाले भनिन् ।
नेपाली परिवेशमा हुर्किएकी इंग्भिल्डलाई धेरैपछिसम्म पनि आफू फरक रंगको नेपाली नै भएको भान हुन्थ्यो । ‘मैले आमा–बुबालाई मेरो रंग अरू साथीभन्दा किन फरक छ भनेर सोधिरहन्थें । शिक्षकहरूले विद्यालयमा पढाउँदा मलाई प्राथमिकता दिन्थे । त्यो पनि किन हो जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘नर्वे गएपछि पनि आधा नेपाली, आधा नर्वेजियन भएकाले घुलमिल हुन मलाई धेरै गाह्रो भयो । यहाँ हामीले गरेको केही मिलेन भने हाँसेर सिकाउँथे । तर उता त अजीब रैछ, यो भनेको जस्तो गर्थे ।’
म्याग्नेका अनुसार ब्राह्मण समुदायमा भन्दा उनीहरूलाई मगर बाहुल्य समुदायमा बस्दा निकै रमाइलो भयो । ब्राह्मण समुदायसँग बस्दा धेरै छोइछिटो हुने तर मगर समुदायमा त्यस्तो वास्ता नहुने हुँदा पनि उनीहरूलाई छुट्टै किसिमको सहजता महसुस भएको सुनाए । ‘हामी समुदायमा बसेर कसैलाई चिढाउन चाहँदैन थियौं । त्यसैले जे जस्तो भन्छन्, त्यसै गरिन्थ्यो,’ उनले भने, ‘तर मगर समुदायसँग बस्दा केही मतलब भएन ।’
नेपालमा जातीय व्यवस्थाभन्दा पनि त्यहाँभित्रको तल्लो र माथिल्लो जात भनेर हुने भेदभावले भने आफूलाई निकै दुःखी बनाउने गरेको भेस्टोल दम्पतीले सुनाए । ‘ट्रान्समिसनका लागि पोल गाड्न ठूलो टोली लिएर हिँड्नुपर्थ्यो । हाम्रा भान्से भने प्रायः तल्लो जात भनेर हेपिएका समुदायकै व्यक्ति हुन्थे । त्यसले गर्दा हामीसँग भएका बाहुन समुदायका व्यक्तिलाई खाना खानै मुस्किल हुन्थ्यो,’ उनले हाँस्दै भने, ‘सुरुमा खान्न भनेर आफैं पकाउँथे । तर केही दिन पोल बोकेर हिँडेपछि थकाइको सुरुमा जातपात बिर्सिन्थे । मलाई त्यो दृश्य देख्दा रमाइलो लाग्थ्यो ।’
भेस्टोल परिवार करिब पाँच वर्षजति स्याङ्जा बसेपछि झिमरुकमा सर्‍यो । तर, उनीहरूलाई झिमरुकभन्दा पनि स्याङ्जाकै याद बढी आउँछ । यो पटक नेपाल आउँदा उनीहरू पुनः आफूले आधा दशकसँगै बिताएका छिमेकीहरू भेट्न पुगेका थिए । ‘हामी नेपालमा रहँदाभन्दा अहिले धेरै परिवर्तन भइसक्यो । बाटो बन्यो, बत्ती पुग्यो, सबैका हातहातमा मोबाइल छ । तर मान्छे–मान्छेबीचको सम्बन्ध भने घटेछ,’ डोरोथियाले अमिलो मुख बनाउँदै भनिन्, ‘गाउँका प्राय सबै युवा बाहिर रहेछन् । अहिले सबैको घरमा पैसा रहेछ । तर सन्तुष्टि छैन । त्यतिबेला पैसा थिएन, सन्तुष्टि भने थियो जस्तो लाग्छ ।’
म्याग्नेका अनुसार विश्व हेर्नका लागि विदेश जानु बेठिक होइन । तर, त्यहाँ सिकेको ज्ञान र सीप भने नेपाल भित्रिएजस्तो आफूलाई नलागेको उनले बताए । ‘गाउँ सहर त बन्यो । तर त्यो गाउँलेहरूको जीवनमा भने अझै ठोस परिवर्तन आएजस्तो लागेन,’ उनले भने, ‘त्यतिबेला हामी हुँदा पनि राजनीतिक परिवर्तनको कुरा हुन्थ्यो । त्यसले विकास हुन्छ भन्ने आशा थियो । अहिले पनि त्यही कुरा गर्छन् ।’
म्याग्नेको परिवार १९९७ तिर नर्वे फर्किएको थियो । तर, २०११ मा उनी फेरि ओखलढुंगा अस्पताल निर्माणका लागि नेपाल आए । त्यतिबेला पनि उनकी श्रीमती डोरोथिया सँगै आइन् । करिब डेढ दशकको अन्तरमा पुनः आउँदा भने आफूले त्यतिबेला देखेभोगेको देशमा थुप्रै परिवर्तन भए
पनि मान्छेको जीवनमा भने त्यसको छनक नदेखिएको उनीहरू बताउँछन् ।
नेपालको विकासक्रमसँग कुनै न कुनै रूपमा आफ्नो परिवार जोडिन पाएकामा भेस्टोल परिवारलाई अहिले पनि गर्व लाग्छ । ‘हामी विकसित देशबाट यहाँ आएर काम गर्‍यौं । यहीँ बस्यौं । बच्चाहरू यहीं हुर्किए । त्यसैले हामीलाई यो हाम्रो अर्को घर हो जस्तो लाग्छ,’ डोरोथियाले भनिन्, ‘यहाँका मानिसहरूले हामीलाई सहज रूपमा स्वीकार गरे । आफ्नो परिवारको अंग बनाए । कहिल्यै हामी देश बाहिरका छौं जस्तो लागेन ।’ भेस्टोल दम्पतीलाई नेपालमा जातपात र छुवाछूत पहिलेको तुलनामा कम भएजस्तो लागे पनि धनी र गरिबबीचको खाडल भने झनै गहिरिएको भान भएको छ । ‘छुवाछूत त धेरै नै कम भएछ । तर, धनी र गरिबबीचको खाडल बढेछ,’ उनले भनिन्, ‘गरिबहरू ऋणमा डुबेका छन् । धनीहरू ब्याज खाएर झन् धनी बनेछन् । त्यतिबेलाका साथीहरूसँग भेटेर कुराकानी गर्दा त्यही अनुभूति गरें । यो कत्तिको सत्य हो, मलाई थाहा छैन ।’
उनीहरूलाई नेपालमा भौतिक विकाससँगै मानवीय विकास पनि सँगै भइदिएको भए सुनमा सुगन्ध हुने थियो जस्तो लागेको छ । तर, एकमहिने बसाइ र घुमाइमा समाजमा बढ्दै गएको नकारात्मकताले उनीहरूलाई पिरोलेको छ । ‘नेपाल र नेपालीमा पहिला यति धेरै नकारात्मकता थिएन । उनीहरू हँसिला, सहयोगी मन भएका हुन्,’ म्याग्नेले भने, ‘अहिले मानिसको घरघरमा बत्ती त बलेको छ । तर कता कता मनभित्रको बत्ती भने मधुरो हुँदै गएजस्तो लाग्यो ।’
नर्वेको ग्रामीण भेगमा शान्त जीवन बिताइरहेका म्याग्ने केही महिनामा ७० वर्ष पुगेर रिटायर हुँदै छन् । उनकी श्रीमती डोरोथिया पनि ६८ वर्ष लागिसकिन् । आफ्नो युवावस्था बिताएको देश विकसित र खुसी भएको उनीहरू देख्न चाहन्छन् । ‘हामीलाई नेपालको औधि माया लाग्छ । नर्वेमै
पनि नेपाली भेट्दा हामी नेपालीमा कुरा गर्न थालिहाल्छौं,’ डोरोथियाले भनिन्, ‘यहाँका मानिसहरू सधैं खुसी रहून् । मेरो शुभकामना ।’

Page 5
Page 6
सम्पादकीय

अब डिजिटल उद्यमशीलतालाई प्रवर्द्धन

रोजगारी सँगसँगै विदेशी मुद्रा आर्जनका दृष्टिले डिजिटल उद्यम नेपालमा बलियो सम्भावनाका रूपमा उदाइरहेको छ । सूचना प्रविधिसम्बन्धी सेवा र उत्पादनमा सक्रिय जनशक्ति १ लाख हाराहारी पुगिसकेको छ । उनीहरूले नेपालभित्रै बसेर अमेरिका, जापान, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरियालगायत मुलुकलाई प्रोग्रामिङ, कोडिङ, डिजाइनिङ, सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ सेवा उपलब्ध गराउँदै आएका छन् । निर्यातका अन्य क्षेत्र खुम्चँदै गएका बेला सूचना प्रविधि सेवा बेचेर सन् २०२२ मा मात्र नेपालीले करिब ६७ अर्ब ६२ करोड रुपैयाँ आर्जन गरे । सरकारले डिजिटल उद्यमशीलतालाई प्रवर्द्धन गर्‍यो भने यो मुलुककै अर्थतन्त्रका लागि बलियो खम्बा बन्न सक्ने देखिएको छ ।
लोडसेडिङ अन्त्य, इन्टरनेट कनेक्टिभिटी वृद्धि, स्कुल–कलेजमा सूचना प्रविधिसम्बन्धी पढाइले नेपालको सूचना प्रविधि सशक्त बन्दै गएको छ । केही वर्षअघिसम्म सामान्य सफ्टवेयरसमेत विदेशको किनेर चलाउनुपर्ने अवस्था रहेकामा अहिले नेपालीले नै जटिल खालका सफ्टवेयरसमेत बनाइरहेका छन् । यसले एकातिर मुलुकभित्रको आवश्यकता पूर्ति भइरहेको छ, अर्कातिर विदेश निर्यातबाट मुद्रा आर्जन भइरहेको छ । साना–ठूला सबै खाले संस्था र कार्यालयले नेपालमै बनेका एप र वेब–बेस्ड सफ्टवेयर प्रयोग गर्नुले नै सूचना प्रविधि क्षेत्रमा भइरहेको प्रगतिलाई प्रस्ट्याउँछ । सूचना प्रविधि क्षेत्रमा मुख्यतया वित्तीय–प्रविधि (फिनटेक), साइबर सुरक्षा, कन्टेन्ट क्रिएसन, ई–कमर्स, गेमिङलगायत व्यवसायमा नेपाली जनशक्ति सफल देखिएका छन् ।
इन्टरनेटमा आधारित डिजिटल कारोबार, अनलाइन व्यापार, टेलिमेडिसिन सेवा विस्तार भइरहेको छ । आम्दानी र रोजगारी वृद्धिसँगै ब्लकचेन, रिमोट वर्किङ, डिजिटल कन्टेन्ट निर्माण, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा बढ्दो माग र अवसरले सूचना प्रविधि क्षेत्रलाई थप आकर्षक बनाउँदै लगेको छ । मुलुकभित्रै पनि कृषि, पर्यटन, जलविद्युत्, स्वास्थ्य लगायत क्षेत्रमा डिजिटल रूपान्तरणको सम्भावना छ । आगामी दस वर्षमा करिब ७० प्रतिशत उद्यम सूचना प्रविधि प्रणालीमा जोडिने विश्व आर्थिक मञ्चको प्रक्षेपणले यस क्षेत्रको अपार सम्भावनालाई बुझाउँछ । मुलुकभित्रै सेवालाई सरल, सहज र पारदर्शी बनाउँदै उत्पादकत्व वृद्धिका लागि पनि सूचना प्रविधिको प्रवर्द्धनको खाँचो छ ।
नेपालमा सूचना प्रविधि क्षेत्रमा जेजति उपलब्धि हासिल भइरहेको छ तर त्यो निजी क्षेत्रको बलबुतामा भइरहेको हो । सरकारले समेत साथ दिने हो भने यो क्षेत्रले फड्को मार्न सक्छ । पछिल्लो समय सरकारले सूचना प्रविधिलाई विशेष प्राथमिकतामा राखेर आवश्यक नीतिगत व्यवस्था एवं अन्य सुधारका पहल गर्ने प्रतिबद्धता गर्न थालेको छ तर कार्यान्वयनमा तदारुकता देखिँदैन । नवप्रवर्तन उद्यम (स्टार्टअप) लाई प्रवर्द्धन गर्न
बीउपुँजी दिने कार्यक्रमसमेत प्रभावकारी बनाइएको छैन । विदेशी ग्राहकसँग काम गरिरहेका सूचना प्रविधि उद्यमीको माग सम्बोधन
गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटमा विदेशमा कम्पनीको कार्यालय खोल्न दिने व्यवस्था त गरेको छ तर यससम्बन्धी थप कानुनी प्रबन्ध
केही गरिएको छैन । उत्पादन निर्यातसम्बन्धी करमै पनि अलमल
देखिएको छ । सरकारी नियामक निकाय नियन्त्रणमुखी बनेको गुनासो पनि उद्यमीबाट आइरहेको छ ।
सूचना प्रविधि क्षेत्र अमेरिका जस्ता टाढाका मुलुक मात्र होइन, छिमेककै चीन र भारतका लागि अर्थतन्त्रको मुख्य स्रोत बनिरहेको छ । नेपालको अर्थतन्त्रमा अहिले रेमिट्यान्स मात्र बलियो खम्बाका रूपमा देखिइरहेका बेला अर्को सम्भावना सूचना प्रविधि देखिएको छ । सूचना प्रविधिमा मुलुकले फड्को मार्‍यो भने रोजगारीका लागि विदेश भौतारिने क्रम घट्न सक्छ । यसले अकासिँदो व्यापार घाटा घटाउन सहयोग गर्छ । आयात–निर्यातलाई सन्तुलित बनाउन पनि सहयोग गर्छ । अन्य जलमार्गमा सहज पहुँचको अभावका कारण उत्पादन एवं ढुवानी लागत बढी पर्ने भएकाले हामीलाई अन्य सामग्री तयार गरेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन कठिन छ । तर सूचना प्रविधिमा हामीले भूपरिवेष्टित हुनुको अप्ठेरो महसुस गर्नै पर्दैन ।
सूचना प्रविधिसम्बन्धी सेवा र उत्पादन बिक्री नेपाली युवा विश्व
बजारमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने प्रमाण हो । उनीहरूलाई
प्रोत्साहन गर्न सरकारले नीति–नियम बनाउन ढिला गर्नु हुँदैन । अहिले देखिएको करसम्बन्धी अन्योललाई पनि अन्त्य गर्नुपर्छ । लगानी प्रवर्द्धनमा सहयोग गर्नुपर्छ । सरकारी निकायले नियमनका नाममा नियन्त्रण होइन, सहजीकरण गरिदिनुपर्छ ।

सम्पादकलाई चिठी

‘सत्ताको आडमा फुत्कने/फुत्काउने खेल’

‘मेरो नाममा कसले कारोबार गर्‍यो, मलाई जानकारी छैन : दीपेश’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

सामान्य जनतालाई आरोप लागेको भए अँध्यारो कोठामा राखेर कडा अनुसन्धान हुन्थ्यो । सत्ताको आड पाएकाहरूलाई सोफामा राखेर उनीहरूको आज्ञा बमोजिमको सिलसिला सुरु हुन्छ र कानुनी छिद्रको प्रयोगबाट फुत्कने/फुत्काउने
अवस्था सिर्जना गर्न पेसाकर्मी व्यवसायी माहिर हुन्छन् ।
– रञ्जन पौड्याल

मुखले बोलेको कुरा कसैको प्रमाण हुन्न । उसको सबै बैंक खाता चेक गर्नुपर्छ, त्यो पैसा कहाँ गयो भनेर ।
– आर्यन लिम्बू

हेर्नुहोला, ठूला भन्ने जति सबै चोखिन्छन् र संस्थाको सानो कर्मचारी मात्रै दोषी
ठहर हुन्छन् ।
– जगन्नाथ थपलिया

धन्न अंशको कागजमा हस्ताक्षर गराएनछ । नत्र सम्पत्ति गएको पनि थाहा नहुने रैछ ।
– सुनील शिल्पकार

जीबी राईलाई समात, बल्ल थाहा हुन्छ ।
– कुमार गुरुङ

विद्यार्थी संगठन, युवा संगठनको नेतृत्व तहकै व्यक्तिले समेत कहाँ हस्ताक्षर गरेको छु भन्ने थाहा पाउँदा रहेनछन्, गाउँका सर्वसाधारणको के कुरा गर्ने खै !
– गणेशकुमार श्रेष्ठ

थाहा छैन भन्दैमा प्रमाण खोजिन्छ कि उसै छोडिन्छ होला ?
– सरोजकुमार ढुंगाना
सही गर्न जानेको केटोले पढ्न पनि जानेकै होला नि, नपढी सही गरेको होला त ?
– विजय करणजित

रवि लाइन आएछ ।
– कर्मा शेर्पा

गृहमन्त्री रवि दाइको सन्दर्भमा, राम्रोसँग हेर्‍यो भने रविबहादुर लामिछाने पनि हुन सक्छ है । यस्तै सानासाना त्रुटिले समस्या सिर्जना भइरहन्छ ।
– ऐनबहादुर बम

उच्च स्तरको छानबिन समिति बनाए त यी सबै तथ्य छर्लंग बाहिर आउँथे होलान् नि, किन नमानेका होलान् समिति बनाउन ?
– दीपक धिताल

दुःखद, बिचरा सोझो मान्छेलाई फसाएछन् । पीर नगर बाबू, तिम्ले चाँडै न्याय पाउँछौ ।
– सन्तोष सापकोटा

नक्कली खाता, ऋणी बनाएर पैसा अपचलन गरेको भएर सहकारी डुब्यो । नाम कसैको राखिदिने हस्ताक्षर नक्कली, नागरिकता पनि नभएकाले पुनको भनाइ सत्य पनि हुन सक्छ । अनुसन्धान गर्ने भनेकै यहीं हो । जीबी राई धूर्त हुन् । उनले सबैलाई फसाए । उनलाई गिरफ्तार गर्नुपर्‍यो ।
– भरतबहादुर विष्ट

बलियालाई यो देशमा कानुन लाग्दैन ।
– अम्बर पाठक

जब कुनै प्रमाण छैन भने कसैलाई पनि दोषी भन्न मिल्दैन । त्यत्रो पैसा दिँदा कमसेकम हस्ताक्षर त गराउनुपर्छ नि सहकारीले ।
– इन्सल्ट काफ्ले

नेपालमा जे पनि हुन्छ, राजनीतिक पहुँच भए सजिलै कालोलाई सेतो, सेतोलाई कालो बनाउन सकिन्छ ।
– उमेश खत्री

रवि लामिछाने सहकारीको कुनै सदस्य थिएनन्, तिमी त्यो सहकारीको सचिव थियौ अनि अहिले मलाई केही थाहा छैन भन्न मिल्छ ?
– सुनील लामा

सम्पादकलाई चिठी

न्यायालय सुशासनको बाधक कि साधक ?

देशमा सुशासन ल्याउन सरकारले मात्र सक्दैन, राज्यको सबै अंगले उत्तिकै सहयोग गर्नुपर्छ । राज्यका ३ प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामध्ये एक अंगले मात्र पनि राम्रोसँग काम नगरे अरू अंग विफल हुन्छन् । फलस्वरूप देश नै असफल भएर जान्छ । राज्यका प्रमुख तीन अंगले समन्वयका साथ काम गर्न सके सुशासन आउन सक्छ । यसमा राज्यको चौथो अंग मानिएको सञ्चार जगत्ले पनि सकारात्मक भूमिका खेल्नुपर्छ ।
केही महिनायताका न्यायालयका केही आदेश र निर्णय सुशासनमा बाधा पुग्ने खालका छन् । हुन त धेरैजसो न्यायमूर्तिको आदेश र निर्णय राम्रा छन् । तथापि केही न्यायाधीशले गरेको आदेश र देखाएको व्यवहारले न्यायालयप्रति नै प्रश्न उठेको छ । त्यसलाई प्रधानन्यायाधीश, सर्वोच्च अदालतको फुलकोर्ट र न्यायपरिषद्ले ध्यान दिनु जरुरी छ ताकि न्यायालयको गरिमा र विश्वास जनस्तरमा बढोस् । न्यायालयले दिएका चित्तै नबुझ्ने आदेशका केही दृष्टान्त हेरौं ः–
१. १ सय ३८ क्विन्टल सुन काण्डमा गहिरो अध्ययन गरी सीआईबीले मुद्दा दायर गर्‍यो । त्यसको प्रमुख अभियुक्त पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनकुमार गुरुङलाई बनाइयो । जसको बिगो मात्र
करिब डेढ अर्ब थियो । तर अदालतका न्यायमूर्तिले
केवल १५ लाख धरौटीमा उनलाई छाड्ने आदेश गरे । डेढ अर्बको बिगोमा कमसेकम १० करोड धरौटी त माग्नुपर्थ्यो नि ?
२. बाँसबारी छाला जुत्ताको जग्गा हिनामिना गरेकामा
अरुण चौधरीलाई अनुसन्धान गर्न प्रहरीले हिरासतमा लियो । तर अदालतले केवल ६ दिनमै अनुसन्धान
पूरा गरेर उनलाई तारिखमा छाड्न आदेश गर्‍यो ।
के गम्भीर मुद्दाको अनुसन्धान ६ दिनमै पूरा गर्न
सम्भव छ ? अन्य सामान्य नागरिक भएको भए यस्तै आदेश हुन्थ्यो ?
३. भुटानी शरणार्थी काण्डमा सरकारले मुद्दा चलायो । धेरैले सरकारको तारिफ गरे । तर अदालतले मुख्य अभियुक्त मानिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई तारिखमा छाडिदियो । त्यो आदेश आउनु केही दिनअघि भैरहवाको एक सार्वजनिक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले खाँण निर्दोष भएकाले अदालतबाट छुट्छन् भनेर न्यायालयलाई घुमाउरो तरिकाले दबाब दिएका थिए ।
४. अरूको मुद्दा पेसीमा चढ्न महिनौं लाग्छ । तर
कांग्रेस नेता एवं सांसद टेकबहादुर गुरुङको मुद्दा एक महिनामै ५ चोटि पेसी चढाएर सांसद पदको निलम्बन फुकुवा गरियो ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

सम्पादकलाई चिठी

पदको आडमा बेइमानी

नेपाल स्काउटको जग्गा १५ वर्षभन्दा बढी हडपेर
नेपाली कांग्रेसका सांसद दीपक खड्काले भोगचलन गरेको र निर्देशनपछि पनि नछाडेको समाचार आएको छ । नौ रोपनी जमिन हडप्नु, साढे छ करोड तिर्न अटेरी गर्नु पद र
सत्ताको आडमा गरिएको बेइमानी भएन र ? यसबाट
‘ठूलाबडाले जे गरे पनि हुन्छ,’ ‘ठूलालाई चैन र सानालाई ऐन’ भन्ने उक्ति चरितार्थ हुँदैन र ? यो त एउटा प्रतिनिधि
घटना मात्र हो । गुन्डागर्दी, हत्या, बलात्कार, भ्रष्टाचार, तस्कर, जग्गा हडप्ने, सहकारीबाट आम जनताको करोडौं रकम अनियमितता गर्ने आदिमा संलग्न पाइँदा पनि सांसद पद जोगिरहने कानुन किन बनाइएको होला ? यस्ता सांसदलाई सम्बन्धित पार्टीले संरक्षण गरिराखेकै कारण आम मानिसमा दलप्रति अविश्वास खडा हुँदै गएको हो । यसलाई कानुनी रूपमा तुरुन्तै सच्याइयोस् ।
– तुलसीराम खरेल, बिर्तामोड, झापा

दृष्टिकोण

भूमिसुधारको भुलभुलैया

- जेबी विश्वकर्मा

 

कृषि नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण स्रोत हो । विगतमा जीविकोपार्जनको मुख्य स्रोत नै कृषि भएका कारण नेपाललाई कृषि प्रधान देशका रूपमा लिइन्थ्यो । २०६८ को जनगणनाअनुसार नेपालमा ७१ प्रतिशत परिवार कृषिमा संलग्न थिए भने २०७८ को तथ्यांकअनुसार ६२ प्रतिशत परिवार कृषिमा संलग्न छन् । यसरी कृषिमा संलग्न हुने नेपालीको जनसंख्या ४१ लाख ३० हजारभन्दा धेरै छ । तर, कृषि उत्पादनमा संलग्न श्रमिकको एउटा ठूलो हिस्सालाई सयौं वर्षदेखि भूमिहीन बनाउँदै आएको इतिहास छ । विशेषगरी कृषि उत्पादन गर्ने भूमि मानिसको बसोबाससँगै सुरु भएको हो । यसरी कृषियोग्य जमिन तयार गर्ने र उत्पादन गर्ने काममा मूलतः आदिवासी समुदायको निकै ठूलो योगदान छ । यसरी परापूर्वकालदेखि नै कृषि उत्पादनमा संलग्न समुदाय र व्यक्तिको भूमि राज्यले जबरजस्त कब्जा गर्दै बिर्ता, जागिर आदिको नाममा वितरण गरेको इतिहास छ ।
विसं. १९१० मा जंगबहादुर राणाले कानुनै बनाएर कुन जातले सम्पत्ति राख्न पाउने वा नपाउने व्यवस्था गरेपछि त जातकै कारण कृषि उत्पादनमा आबद्ध किसानको जमिन खोसियो भने अर्कातिर कृषि उत्पादनमा खासै योगदान नपुर्‍याएका हिन्दु पुजारीलाई बिर्ताका नाममा हजारौं बिघा जमिन दिइयो । यति मात्रै होइन, राणा–शाही शासनकालभरि नै कृषिमा संलग्न हुँदै नभएका राज परिवार, राणा परिवार र उच्च ओहदाका कर्मचारी प्रशासकले छानीछानी देशैभरिका हजारौं बिघा उत्पादनशील जमिन कब्जा गरे । सत्ताका आसेपासे कर्मचारीलाई जागिरका नाममा उत्पादनशील भूमि कब्जा गरेर वितरण गरिएको थियो । यसरी कृषकले उत्पादनयोग्य बनाएको जमिन राज्यले कब्जा गरेर बिर्ताका नाममा कृषिमा आबद्ध नै नभएका पुजारीका रूपमा ब्राह्मण र क्षत्री, जागिरका रूपमा सेना र कर्मचारी प्रशासनमा काम गर्ने राणा र केही मगर तथा गुरुङलाई वितरण गरियो । यसैगरी, नेवारभित्रका केही उच्च जाति तराई–मधेशका कथित माथिल्लो जातिका निश्चित व्यक्तिलाई उत्पादनशील जमिन वितरण गरियो । यसले कृषि श्रम र उत्पादनमा संलग्न लाखौं मानिस जोताहा किसानमा परिणात हुन पुगे । यति मात्रै होइन, दलित समुदायलाई त आफ्नो नाममा सम्पत्ति राख्नै वर्जित गरिएको थियो ।
यसरी नेपालको भू–स्वामित्वको इतिहास हेर्ने हो भने कानुनै बनाएर वास्तविक कृषकको जमिन राज्यले खोसेर लाखौंलाई भूमिहीन बनाएको थियो भने दलितलगायत सीमान्तकृत समुदायलाई
आफ्नो नाममा भूमि राख्नै नदिएर जबरजस्त भूमिहीन बनाइएको हो । त्यसैले कृषि उत्पादन र श्रममा संलग्नै नहुने ठूलो समूहले कृषियोग्य किसानको जमिन कब्जा गर्नुका साथै तिनै किसानलाई कृषि श्रममा लगाएर प्राप्त उत्पादनमा एकलौटी कब्जा जमायो । यसैको परिणाम लाखौं कृषि श्रमिक अहिले पनि भूमिहीन अवस्थामा छन् । यसरी किसानकै जमिन कब्जा गरेर भू–सामन्त अहिले पुँजीपतिमा रूपान्तरित भएका छन् भने भूमि गुमाएका किसान वा भूमिमाथि स्वामित्व राख्न नदिइएका जातजाति अहिले पनि सबैभन्दा गरिबीको अवस्थामा छन् ।

भूमिसुधारको औचित्य
नेपालको अर्थतन्त्रमा कृषिको योगदान बिस्तारै कम हुँदै गइरहेको छ भने कृषि उत्पादनमै निर्भर हुने जनसंख्या पनि घट्दो छ । नेपाल पुँजीवादी आर्थिक प्रणालीमा प्रवेश गरिसकेको सन्दर्भमा भूमिसुधारको औचित्य नभएको तर्क बेलाबखत बलियो रूपमै उठ्ने गरेको छ । तर राष्ट्रिय भूमि आयोगकै तथ्यांकलाई आधार मान्ने हो भने पनि नेपालमा १५ लाखभन्दा धेरै भूमिहीन सुकुम्बासी छन् । यसरी भूमिहीनमध्ये ठूलो जनसंख्या दलित र सीमान्तीकृत समुदायको छ । सुदूरपश्चिम र कर्णालीमा अहिले पनि हलिया र खलो प्रथा कायम छ । यसैगरी मधेशमा हरवाचरवा प्रथा जीवित छ । यी दुवै बाध्यकारी बँधुवा श्रममा आधारित शोषणमूलक व्यवस्था हो । भू–सामन्तको समग्र कृषि उत्पादनमा योगदान गर्ने यो समुदायले न श्रमअनुरूप पारिश्रमिक पाउँछ न त वर्षौंसम्म कृषि उत्पादनमा संलग्न भएबापत मोहियानी हक नै । राज्यले २०६५ मा सयौं वर्षदेखि चरम शोषणमा परेका हलिया मुक्तिको घोषणा गर्‍यो । राज्यले पुनःस्थापना कार्यक्रम पनि सञ्चालन गरेको छ । तर, पुस्तौंपुस्ता जबरजस्त बँधुवा श्रमिक बनाउने भू–सामन्तलाई कारबाही गर्ने र हलिया बस्ने व्यक्तिको परिवारलाई क्षतिपूर्ति दिलाउने काम भएको छैन । यसले मुक्त भएका हलिया बँधुवा मजदुरबाट ज्यालादारी श्रमिकमा रूपान्तरित भएका छन्, तर आर्थिक जीवनमा ठूलो परिवर्तन आउन सकेको छैन ।
तराई–मधेशमा भू–सामन्तले बँधुवा मजदुरका रूपमा हरवाचरवा राख्ने गरेका छन् । नेपालमा करिब ७० हजारभन्दा धेरै हरवाचरवाका रूपमा काम गर्छन् । अधिकांश हरवाचरवा एउटा निश्चित जमिनदारको खेती र घरको कामभन्दा बाहिर जान पाउँदैनन् । राज्यले २०७९ मा यस्तो आधुनिक दासताका रूपमा रहेको हरवाचरवा मुक्तिको घोषणा गर्‍यो । तर, हरवाचरवाको मुक्ति घोषणाबाहेक कुनै काम हुन सकेको छैन । अर्कोतिर, पुस्तौंपुस्तादेखि कृषिमा श्रम गर्ने मुसहर समुदायको निकै ठूलो जनसंख्या भूमिहीन छ । यसरी हेर्दा वर्षौंवर्षदेखि कृषि उत्पादनमा आबद्ध ठूलो समूह अहिले पनि भूमिहीन अवस्थामा छ भने खेतीयोग्य जमिन ओगटेर बसेका जमिनदारको मुख्य पेसा कृषि होइन । त्यसैले जबरजस्त भूमिहीन बनाइएका र चरम शोषणमा परेको कृषि श्रमिकको न्यायका लागि राज्यले अनिवार्य रूपमा भूमि उपलब्ध गराउनुपर्छ । नेपालको सन्दर्भमा भूमि केबल सम्पत्ति मात्रै होइन, यो व्यक्तिको पहिचान र सामाजिक प्रतिष्ठा पनि हो । यति मात्रै होइन, जीवन, संस्कृति र सभ्यता पनि हो । त्यसैले भूमिहीन कृषकको भू–स्वामित्व स्थापित गर्न, भूमिसँगै पहिचान, अस्तित्व र सभ्यता जोडिएको समुदायको भूमिको रक्षा गर्न नेपालमा भूमिसुधार अनिवार्य छ ।
अर्कोतिर, नेपाल उपभोक्तावादी समाजमा रूपान्तरित भइरहेको छ, अर्थात् कृषि उत्पादनमा निरन्तर ह्रास भइरहेको छ । कुनै बेला जमिनदार र सामन्तको कब्जामा रहेको जमिन श्रमशक्तिको अभावका कारण बाँझोमा परिणत हुँदै गइरहेको छ भने कृषि श्रममा आबद्ध किसानसँग जमिन छैन । यसले एकातिर खेतीयोग्य भूमिको उत्पादकत्व घट्ने अवस्थामा पुगेको छ भने कृषिमा आबद्ध श्रमिक वैदेशिक रोजागरीमा जानुपर्ने बाध्यता छ । त्यसैले जमिनको उत्पादकत्व वृद्धि गर्ने, कृषि उत्पादनलाई बढाएर व्यापार घाटा कम गर्ने हो भने पनि गरिब र भूमिहीन किसानको भूमिमाथि स्वामित्व स्थापित गर्नुपर्छ । यसका साथै राज्यले किसानलाई उत्पादनका लागि आवश्यक नयाँ ज्ञान, प्रविधि र बजार व्यवस्थापनमा सहयोग गर्नुपर्छ । यसले एकातिर भूमिहीन किसान परिवारको आर्थिक जीवनलाई सहज बनाउँछ भने राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन पनि सहयोग पुर्‍याउँछ ।

सुकुम्बासीमाथि बेइमानी
नेपाली राजनीतिक इतिहास हेर्ने हो भने कम्युनिस्ट पार्टीदेखि नेपाली कांग्रेसले समेत क्रान्तिकारी भूमिसुधारलाई राजनीतिक एजेन्डा बनाए । कम्युनिस्ट पार्टीले त संघर्षका बेला भू–सामन्तविरुद्ध सशक्त आजाव पनि उठाए । क्रान्तिकारी भूमिसुधार नाराकै कारण भूमिहीन किसान, गरिब र सीमान्तीकृत समुदाय राजनीतिक संघर्षमा सामेल भए । राजनीतिक आन्दोलनलाई एउटा उचाइमा पुर्‍याउन र पार्टीहरूलाई सत्तामा पुर्‍याउने बेलासम्म क्रान्तिकारी भूमिसुधार एजेन्डा बन्यो । तर, ती पार्टीहरू सत्तामा पुगेपछि भूमिसुधारको कुनै ठोस कार्यक्रम बन्न सकेन । सबैजसो पार्टीले सत्तामा पुगेपछि राष्ट्रिय भूमिसुधार आयोग गठन गर्ने, भूमिहीनको अवस्था अध्ययन वा लगत संकलन गर्ने काम मात्रै भइरहेको छ । तिनै लगतका आधारमा थोरै संख्यामा भूमिहीनलाई लालपुर्जा वितरण गरिएको छ तर समग्रमा भूमिहीनलाई न्यायोचित भूमि वितरण गर्ने र जबरजस्त भूमिबाट बेदखल गरिएका वा सुकुम्बासी बन्न पुगेका व्यक्तिलाई भूमि उपलब्ध गराउने विषयमा खासै प्रभावकारी काम गर्न सकेको छैन ।
यसैगरी विकास, संरक्षण आदिका नाममा मानिसहरू भूमिबाट विस्थापित हुने अवस्थामा पुगेका छन् । नदी किनारामा माछा मार्ने, साना व्यापार व्यवसाय गरी खाने माझीको पेसा, भूमि सबै खोसिएको छ र परम्परागत पेसाबाट जीविका धान्न नसक्ने अवस्थामा पुगेका छन् । सडक, बिजुली उत्पादन आदिका कारण बसोबास छोडेर अन्तै सर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । आफ्नो भूमिसँग जोडिएको अस्तित्व, पहिचान र संस्कृतिबाटै विमुख बन्नुपर्ने अवस्था छ । भूमिहीनताका कारण खोला किनार र जोखिमपूर्ण भूगोलमा बस्न बाध्य मानिसहरू बर्सेनि बाढी, पहिरो, डुबानजस्ता विपद्बाट पीडित हुने गरेका छन् । यस्ता व्यापक मुद्दामा न त भूमि आयोगले गम्भीरतापूर्वक काम गर्न सकेको छ न त राजनीतिक पार्टीहरूले नै भूमिहीनता र यसका कारण सिर्जित समस्या हल गर्ने ठोस प्रयत्न गरेका छन् । नेपालका राजनीतिक पार्टीहरू भूमिसुधारका सम्बन्धमा विगतमा उठाइएका एजेन्डा र गरिएका प्रतिबद्धताप्रति इमानदार हुन सकेका छैनन् । यो भूमिहीन सुकुम्बासीको अपेक्षामाथि गरिएको बेइमानी हो ।

भूमिहीनको बलियो आन्दोलन
नेपालमा लामो समयदेखि भूमि अधिकारका सवालमा आन्दोलन हुँदै आइरहेको छ । कुनै बेला भूमि अधिकारको आन्दोलन राजनीतिक पार्टीको एजेन्डा बनेको थियो । देशैभरिका भूमिहीन संगठित रूपमा आन्दोलित भएका थिए । भूमिहीनले जिल्ला जिल्लामा मात्रै होइन, काठमाडौं केन्द्रलाई नै दबाब दिने गरी आन्दोलन गरेका थिए । जसरी राजनीतिक वृत्तमा भूमिहीनबारे बहस कमजोर हुँदै गयो, भूमिहीनको आन्दोलन पनि सुस्ताउँदै गएको छ । अर्कातिर भूमिहीनताका कारण बहुआयामिक समस्याको चक्रमा फस्दै गइरहेका छन् । एकातिर राज्यले कमैया, हलिया, हरवाचरवा मुक्त घोषणा गर्ने तर वैकल्पिक जीविकोपार्जनको व्यवस्था नगर्ने, अर्कोतिर जीविकोपार्जन, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि मिटरब्याजमा ऋण लिएर पीडित हुनुपर्ने अवस्था भूमिहीनले भोगिरहेका छन् । यति मात्रै होइन, भूमिहीन नयाँनयाँ किसिमको वित्तीय शोषणको चक्रमा फसिरहेका छन् । लाखौंको संख्यामा भूमिहीन वा उत्पादन गरी खान नपुग्ने जमिन भएका व्यक्तिमाथि परिरहेको समस्यालाई सम्बोधन गर्ने तत्कालीन र दीर्घकालीन योजना राज्यले बनाउनुपर्छ । मिटरब्याज, लघुवित्तजस्ता वित्तीय लुटबाट मुक्त गर्न राज्यले विशेष पहलकदमी चाल्नुपर्छ भने वैज्ञानिक भूमिसुधारका माध्यमबाट भूमिहीन, भूमिबाट जबरजस्त विस्थापित हुन बाध्य व्यक्तिलाई न्यायोचित भूमि वितरण गरिनुपर्छ । यसतर्फ राज्य र राजनीतिक दललाई जवाफदेही बनाउन एकीकृत र सशक्त भूमि अधिकार आन्दोलनको आवश्यकता छ ।

Page 7
दृष्टिकोण

एकतिहाइ महिला सहभागिता पूर्ण उपलब्धि होइन

- विद्यादेवी भण्डारी

 

मानव जातिको निरन्तरताका लागि प्रकृतिले पुरुष र महिलालाई जैविक रूपमा केही फरक भूमिकासहित एक–अर्काप्रति अन्तरनिर्भर बनाइदिएको छ । प्रकृतिप्रदत्त यो जैविक भिन्नता र अन्तरनिर्भरता मानव जनसंख्याको अस्तित्वका लागि अपरिहार्य रहेको छ । साथै, समाज विकासको क्रममा महिला र पुरुषको बीचमा सामाजिक, भावनात्मक र आर्थिक अन्तरनिर्भरतासमेत कायम हुन पुगेको छ । पुरुष र महिलाका जैविक भूमिका वा जिम्मेवारीहरू फरक भए तापनि यी भूमिकाहरू एकअर्काका पूरक र अन्तरसम्बन्धित छन् । पुरुष र महिलाबीचको यही अन्तरसम्बन्ध र अन्तरनिर्भरताद्वारा नै आजको मानव समाज र सभ्यताको निर्माण भएको हो ।
आदिम युगबाट मानव विकासका अनेक चरण पार गर्दै आजको आधुनिक युगसम्म आइपुग्दा पुरुष र महिलाबीच सिर्जित विभेद र असमानताको खाडल मानव जाति आफैंले खनेको हो । पुरुष र महिलाका बीचमा समाजद्वारा सिर्जना गरिएका यस प्रकारका अप्राकृतिक विभेदलाई संस्थागत गर्नका लागि अनेकन महिलाद्वेषी प्रथा र परम्परालाई धार्मिक, सामाजिक, सांस्कृतिक एवं कानुनी मान्यतासमेत प्रदान गरियो । जसका आधारमा पितृसत्तात्मक समाजले युगौंदेखि महिलाहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गर्दै आएको थियो भने यसको विरोधमा पनि विश्वभरि नै अनेक विद्रोह र आन्दोलन हुँदै आएका छन् ।
लैंगिक समानताका लागि गरिने यस प्रकारका अभियान र आन्दोलन जारी नै रहेका छन् । आज सभ्य, विकसित र लोकतान्त्रिक भनिएका कतिपय मुलुकमा महिलाहरूले मतदानको अधिकार प्राप्त गरेको धेरै समय भएको छैन । तर हाम्रो देशमा महिलामाथि कायम सती प्रथा, बाल विवाह र छुवाछूत प्रथाजस्ता सामाजिक विभेदको अन्त्यका लागि आजभन्दा आठ दशकअघि नै पूर्वी नेपालको भोजपुरमा योगमायाले ठूलो विद्रोहको अगुवाइ गर्दै आफ्ना ६८ अनुयायीसहित अरुण नदीको उर्लंदो भेलमा हाम फाली देह त्याग गरेकी थिइन् । यसैगरी, राणाशासनको अन्त्यतिर २००४ सालमा महिलाले पनि पढ्न पाउनुपर्ने र मतदानमा भाग लिन पाउनुपर्ने माग राखी सहाना प्रधान, साधना प्रधान, मंगलादेवी सिंहलगायतका त्यस समयका जागरुक महिलाहरूले आन्दोलन सुरु गरेका थिए ।
फलस्वरूप, राणाशासनको अन्त्यपश्चात् २०१० भदौ १७ गते सम्पन्न भएको काठमाडौं नगरपालिकाको चुनावमा पहिलोपल्ट नेपाली महिलाले मतदानको अधिकार प्रयोग गर्नुका साथै उम्मेदवार बनी विजयीसमेत बनेका थिए । त्यसयताको सात दशक लामो अवधिमा नेपालको राजनीतिक, सामाजिक र आर्थिक प्रणालीमा आएका धेरै ठूला परिवर्तन हामीले देख्न, भोग्न पाएका छौं । सामाजिक न्याय, महिला अधिकार तथा लैंगिक समानताका लागि भएका विभिन्न आन्दोलन, सामाजिक जागरण एवं सचेतना अभियानको परिणामस्वरूप हामीले महिला अधिकार र लैंगिक समानताको क्षेत्रमा संवैधानिक, नीतिगत तथा कानुनी दृष्टिबाट उल्लेखनीय उपलब्धिहरू हासिल गरेका छौं ।
२०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ (जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव) पारित गरेको थियो । उक्त ‘विशेष प्रस्ताव’ लाई आधार मानेर नेपालको संविधानले महिलाको समानताको हक, समानुपातिक सहभागिताको हक, प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार, महिलाविरुद्ध हिंसामा प्रतिबन्धलगायत महिलाका आधारभूत अधिकारलाई मौलिक हकका रूपमा ग्रहण गरेको छ ।
राज्यका तर्फबाट गरिएका संवैधानिक, नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थाका कारण राज्यका महत्त्वपूर्ण निकाय तथा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमूलक संरचनामा एकतिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ । यसरी नै शिक्षा, स्वास्थ्य, रोजगारी, सम्पत्तिमा स्वामित्व, श्रम सहभागितालगायतका सूचकमा वृद्धि भई नेपालको समग्र लैंगिक विकास सूचकांकमा समेत सुधार भएको छ । फलस्वरूप, महिला सशक्तीकरण र लैंगिक समानताका क्षेत्रमा हामीले हासिल गरेका उपलब्धिहरू विश्व महिला आन्दोलनकै निम्ति समेत उदाहरणीय बनेका छन् ।
विभिन्न नीतिगत एवं कार्यक्रमिक प्रयासहरू भए तापनि लामो समयदेखि हाम्रो समाजमा विद्यमान पुरातन पितृसत्तात्मक सोच, गरिबी, अशिक्षा, अन्धविश्वास र कतिपय कुप्रथाका कारण संविधान र कानुनद्वारा प्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनमा अझै चुनौती बाँकी रहेका छन् । हाम्रो समाजमा आज पनि बाल विवाह, बहुविवाह, दाइजो तथा तिलक प्रथा, छाउपडी, बोक्सीको आरोपजस्ता महिलाद्वेषी कुपरम्परा कायमै छन् । यसैगरी, घरेलु हिंसा, एसिड आक्रमण, यौन दुर्व्यवहार, बलात्कार र हत्याजस्ता जघन्य हिंसाबाट समेत नेपाली महिलाहरू अझै पीडित बन्नु परिरहेको छ । यसरी समाजमा गहिरो जरा गाडेर बसेका प्रथा, परम्परा, मूल्य र मान्यतालाई केवल कानुनी उपायबाट मात्र परिवर्तन गर्न सकिँदैन । यसका लागि हामीले परिवार, समुदाय, शैक्षिक संस्था, कार्यथलोलगायत समाजका हरेक पक्ष र क्षेत्रमा निरन्तर सचेतना अभियान सञ्चालन गर्नुपर्छ । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा र विभेदको अन्त्य र लैंगिक समानताको पक्षमा सामाजिक जागरण तथा सचेतना अभियानमा आमसञ्चार जगत्ले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यसैगरी, महिलाको शैक्षिक एवं आर्थिक सशक्तीकरणका साथै समग्र समाजको सांस्कृतिक रूपान्तरणका लागि समेत हामी सबैले निरन्तर प्रयास जारी राख्नुपर्छ र यी सबका लागि राज्यले समेत यथेष्ट रूपमा लगानी वृद्धि गर्नुपर्छ ।
पृष्ठभूमि र विशिष्ट सामाजिक–राजनीतिक परिस्थितिका कारण कुनै पनि मुलुकमा एकाध महिला मुलुकको उच्च कार्यकारी पदसहित उच्च नेतृत्व र नीति निर्णायक तहमा पुग्न सक्छन् । महिला अधिकारवादी आन्दोलन विकसित नभएकै अवस्थामा पनि भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशलगायत दक्षिण एसियाली मुलुकमा धेरै पहिले नै महिला ती मुलुकको उच्च कार्यकारी पदमा पुग्न सफल भएका थिए । ती मुलुकका आम महिलामा त्यसको अवश्य नै सकारात्मक प्रभाव परेको हुनुपर्छ । नेतृत्वदायी पदमा पुगेका महिलाले अन्य महिला तथा किशोरीका लागि रोल मोडलका रूपमा काम गर्ने र उनीहरू स्वयंलाई नेतृत्वमा पुग्न प्रेरित गर्न सक्छन् । साथै, उनीहरूले लैंगिक भूमिकाका बारेमा समाजमा कायम रुढिवादी सामाजिक मान्यता तोडेर अगाडि बढ्नका लागि युवा महिलालाई उत्प्रेरित गर्न सक्छन् । तथापि, वास्तविक लैंगिक समानताका लागि भने समाजका सबै तहहरूमा प्रणालीगत परिवर्तन नै आवश्यक हुन्छ ।
हाम्रो देशमा स्थापित भएको राज्यका महत्त्वपूर्ण निकाय तथा संरचनामा एकतिहाइ महिलाको प्रतिनिधित्वको व्यवस्थाचाहिँ यही प्रणालीगत परिवर्तनकै परिणाम हो । त्यसैले, महिला सहभागिताको क्षेत्रमा नेपाली महिलाले हासिल गरेको यो महत्त्वपूर्ण उपलब्धि हो । समाजका आधा हिस्सा ओगटेका महिलाका लागि एकतिहाइ सहभागिताको व्यवस्था नै पूर्ण उपलब्धि होइन । तसर्थ, प्राप्त उपलब्धिको रक्षा गर्दै पूर्ण समानुपातिक प्रतिनिधित्वका लागि हामीले निरन्तर प्रयास जारी राख्नुपर्छ । महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैंगिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिइन्छ । लैंगिक समानताको अभिप्रायः समान अधिकारका साथै परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु पनि हो ।
लैंगिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले यसका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक छ । लैंगिक समानताका लागि व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको व्यावहारिक कार्यान्वयनका लागि महिला र पुरुष दुवैमा यस विषयमा समान अवधारणा र बुझाइ बन्नु आवश्यक छ । त्यसैले महिला अधिकार तथा लैंगिक समानताका लागि सचेतना तथा सशक्तीकरण अभियान सञ्चालन गर्दा महिला र पुरुष दुवैलाई लक्षित गरिनुपर्छ । महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै समाजका सीमान्तकृत समुदायको हित र कल्याणका लागि सामाजिक सुरक्षाको क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी बढाउनु आवश्यक छ । सबल र सुदृढ राष्ट्रिय अर्थतन्त्र नभई राज्यले यस क्षेत्रमा लगानी बढाउन सक्दैन ।
ठूलो राजनीतिक परिवर्तनपश्चात् हाम्रो देश अहिले आर्थिक समृद्धिको बाटोमा अग्रसर रहेको छ । निकट भविष्यमा नै अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुन गइरहेको भए तापनि जनआकांक्षाअनुरूप जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति दिन अझै सकिएको छैन । हाम्रा अमूल्य प्राकृतिक स्रोतको सदुपयोग र उचित व्यवस्थापन गर्न नसकेका कारण हाम्रो अर्थतन्त्र आत्मनिर्भर बन्न सकिरहेको छैन । महँगा विलासी वस्तुदेखि लिएर खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरूमा समेत हामी आयातमा निर्भर रहनुपरेको छ । यसले गर्दा हाम्रो व्यापार घाटा दिनप्रतिदिन चुलिँदै गएको छ । तसर्थ, मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदाहरूको दिगो उपयोग एवं युवा जनशक्तिको परिचालनमार्फत स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र विकास गर्नु हाम्रा लागि अहिले मुख्य चुनौती बनेको छ ।
यसैगरी, रोजगारीका अवसर तथा गुणस्तरीय शिक्षाको खोजीमा युवा जनशक्तिका साथै ठूलो धनराशिसमेत विदेश पलायन भइरहेको दुःखद यथार्थसमेत हाम्रोसामु छ । यसलाई रोक्न स्वदेशमै गुणस्तरीय शिक्षाको व्यवस्था एवं रोजगारीको सिर्जना गर्नु अति आवश्यक छ । जसबाट विप्रेषण र
आयातित वस्तुमा लगाइने भन्सार महसुलमा आधारित परनिर्भर अर्थतन्त्रको सट्टामा स्वदेशी उत्पादन र आयमा आधारित दिगो, स्वाधीन र स्वावलम्बी अर्थतन्त्रको निर्माण गर्न सकियोस् ।
यसरी मात्र संविधान र कानुनले प्रत्याभूत गरेका नागरिकका अधिकारहरूलाई व्यावहारिक रूपमा कार्यान्वयनका लागि आवश्यक लगानी गर्न राज्य सक्षम बन्न सक्छ । यी विषयका अतिरिक्त जलवायु परिवर्तन, आन्तरिक तथा बाह्य बसाइँसराइ र वैदेशिक रोजगारी जस्ता वैश्विक परिघटनाका कारण पनि हाम्रा विकास प्रयासहरूमा चुनौती थपिएका छन् । यी परिघटनाबाट समेत महिला नै बढी मात्रामा प्रभावित भइरहेका छन् । तसर्थ यी परिघटनाबाट महिलामाथि पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न आवश्यक रणनीतिहरू निर्माण गरिनुपर्ने आवश्यकतामाथि समेत सम्बद्ध पक्षहरूको ध्यान जानु जरुरी छ ।
– कान्तिपुरले आयोजना गरेको कार्यक्रम ‘निर्भीक नारी’ मा पूर्वराष्ट्रपति भण्डारीद्वारा प्रस्तुत विचारको सम्पादित अंश ।

दृष्टिकोण

कतारी अमिरको भ्रमण र अपेक्षा

- राजेन्द्रकुमार शर्मा

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भयो । सन् २००० मा कतारमा नेपालको दूतावास खुलेको थियो भने कतारले सन् २०११ मा दूतावास स्थापना गर्‍यो । तत्कालीन राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीबाट कतारको भ्रमण भइसकेको छ । कतारसँग कूटनीतिक सम्बन्ध गाँसिएपछि नेपालबाट उच्च स्तरको भ्रमण भए पनि कतारको तर्फबाट भने अहिलेसम्म भएको थिएन । कतारबाट मात्र नभएर मध्यपूर्वका देशबाटै नेपालमा उच्च स्तरको भ्रमण भएको थिएन । यसैबीच, सरकारले गर्न लागेको लगानी सम्मेलन अगाडि वैशाख १२–१३ मा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमण हुन लागेको छ । कतारका अमिरको भ्रमणले नेपालमा मध्यपूर्वको उच्च स्तरको भ्रमणलाई बढाउन सकिने अपेक्षा गर्न सकिन्छ ।
पछिल्लो तीन दशकमा प्राकृतिक स्रोतको प्रयोग गरेर क्षेत्रफलका आधारमा सानो कतारले आफूलाई विकसित शक्ति राष्ट्रका रूपमा उभ्याउन सफल भएको छ । अमिर परिवारको भिजनकारी सोच र कार्यसम्पादनले कतार यो अवस्थामा पुगेको हो । सन् २०१३ देखि कतारका अमिर बनेका अल थानीको नेतृत्वमा सन् २०२२ मा विश्वकपको सफल आयोजना सम्भव भयो । कतारले विश्वकपको तयारीका लागि पूर्वाधारको काम गर्दा छिमेकी देशबाट नाकाबन्दीको सामना गर्नुपरेको थियो । त्यही बेला नेपालमा संविधान जारी भएपछि छिमेकी देशबाट नाकाबन्दी भयो । प्राकृतिक ग्यासको निर्यात गर्ने कतारले सन् २०१७ सम्म आवश्यक पर्ने डेरी प्रोडक्टहरू छिमेकी देशबाट आयात गर्ने गरेको थियो । सन् २०१७ को नाकाबन्दीपछि आवश्यक पर्ने खानेकुरामा आत्मनिर्भर बन्ने नीति लियो । जसको सफल उदाहरणका लागि कतारी दुग्ध उत्पादक कम्पनी ‘बल्दना’ लाई लिन सकिन्छ । जसले कतारलाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर मात्र बनाएको छैन कतारबाट निर्यातसमेत सुरु गरेको छ । कतारको दुग्धजन्य पदार्थ उत्पादन गर्ने कम्पनीको बजार भ्यालुएसन मात्र नेपाली रुपैयाँ ८० अर्बजति छ । २० वर्षदेखि कतार बसेको र व्यवसाय गरेको आधारमा कतारमा व्यवसाय गर्न निकै सजिलो भएको अनुभव आफैंले पनि गरेको छु ।
कतार नेपालीका लागि प्रमुख श्रम गन्तव्य हो । कतारबाट वार्षिक १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रने गरेको छ । कतारमा ३ लाख ५० हजार नेपाली रोजगारी तथा पेसा व्यवसायमा छन् । कतारको विकासमा नेपालीहरूले ठूलो भूमिका निर्वाह गरेका छन्, जुन कतारी सरकारी निकायलाई पनि अवगत छ । कतारका अमिर अल थानीको भ्रमणका क्रममा नेपाल सरकारले कतारको रोजगारीबाट फर्केका नेपालीलाई उनीहरूले सिकेको सीप र ज्ञानलाई उद्यमशीलतामा लग्नका लागि भेन्चर क्यापिटल कम्पनी कतारी लगानीमा स्थापना गर्नका लागि पहल गर्नुपर्छ । कम्तीमा पनि १० अर्ब रुपैयाँ लगानीमा कम्पनी स्थापना भए कतारमा सीप र ज्ञान सिकेका नेपालीले स्वदेशमै उद्यमशीलता बढाउन सक्ने थिए ।
विश्वकप आयोजना गरेर कतारले आफूलाई पर्यटक आकर्षक गर्न सकिने देशका रूपमा चिनाइसकेको छ । आफूलाई चाहिने दक्ष कामदारका लागि कतारले आफ्नै लगानीमा नेपालमा तालिम केन्द्र, टेक्निकल कलेज खोल्न पहल गर्नुपर्ने अर्को आवश्यकता हो । कतारको अर्थतन्त्रको मुख्य आधार तेल र ग्यास हो । कतारले पाएको अर्को सफलता भनेको वायुसेवा व्यवसाय हो । कतार एयरवेज विश्वको सफल विमान कम्पनीका रूपमा चिनिन्छ । कतार एयरवेजले दोहा–काठमाडौं उडान गर्दै आएको छ । कम्तीमा पोखरा र भैरहवा नभए कुनै एक विमानस्थलमा नियमित उडानका लागि नेपालले कतार एयरलाइन्सलाई विशेष अनुरोध गर्नुपर्छ । कतारले बजेट एयरमा समेत फोकस गर्ने नीति लिने तयारी छ । अर्को रणनीतिक योजनाअन्तर्गत नेपाल वायुसेवा निगममा कतार एयरवेजलाई रणनीतिक साझेदारका लागि ल्याउन सकिने सम्भावना पनि छ ।
कतार पर्यटन बोर्डले अहिले विश्वमा आफ्नो लगानीमा पाँचतारे होटल बनाइरहेको छ । यसका लागि नेपाल पनि गन्तव्यमा पर्न सक्छ । इन्भेस्टमेन्ट अथोरिटीसँग सम्झौता गरेर अगाडि बढ्न सकिन्छ । त्यसपछि कतारका कम्पनीलाई नेपालमा लगानी भित्र्याउन सजिलो हुनेछ । विश्वभर कतारी नागरिक बढी खर्च गर्ने पर्यटकका रूपमा चिनिन्छन् । नेपालका साहसिक पर्यटन गन्तव्यमा कतारी नागरिकलाई भ्रमण गराउन सरकारले विशेष नीति लिनु आवश्यक छ । यहाँबाट सगरमाथा आरोहण गर्ने टोलीलाई सम्मानस्वरूप पर्यटन दूतका लागि अनुरोध गर्ने र कतारी बजारमा प्रचार गर्ने काम गर्नुपर्छ । यस्तै, कतारी निकायहरूमा नेपाली श्रमिकको सहजताका लागि खास गरेर अस्पतालहरूमा नेपाली स्वास्थ्यकर्मी लैजाने नीति लिनुपर्छ । कतार सरकारको लगानीमा स्थापना भएको कतार इन्भेस्टमेन्ट अथोरिटीले युरोप र अमेरिकामा लगानी बढाउँदै गएको छ । ४७५ अर्ब अमेरिकी डलर सम्पत्ति व्यवस्थापन उक्त कम्पनीले गरेको छ । लन्डनको हिथ्रो विमानस्थलमा २० प्रतिशत सेयर अहिले कतारी कम्पनीको छ । नेपालमा विमानस्थल तयार भए पनि पोखरा र भैरहवा विमानस्थल चल्न सकेका छैनन् ।
नेपालमा लगानी बढाउने उद्देश्यले कतार र नेपालबीच दोहोरो कर नलाग्ने सम्झौता (डीटीए) भइसकेको छ । नेपालमा लगानी बढाउने उद्देश्यले कतारको ठूलो मानिएको दोहा बैंकको नेपालमा सम्पर्क कार्यालय सन् २०१८ देखि खुलिसकेको छ । कतारका अमिरको भ्रमणमा नेपालले अल्पकालीन र दीर्घकालीन योजना बनाएर लगानीका प्रस्ताव अगाडि सार्नुपर्छ । अल्पकालीन योजनामा वैदेशिक रोजगारबाट फर्कनेलाई उद्यमी बनाउन भेन्चर क्यापिटलको स्थापना, कतारले खोजेअनुसारको जनशक्ति उत्पादनका लागि तालिम केन्द्र स्थापना पर्छन् । दीर्घकालीन लगानीका लागि कतारी लगानीकर्तालाई नेपालको जलविद्युत्, पूर्वाधार तथा पर्यटन क्षेत्रमा आकर्षण गर्न सकिन्छ । यसबाहेक कतारले पछिल्लो वर्ष डेरी उद्योगमा गरेको सफलताको प्रयोग नेपालमा गर्न सकिन्छ । दीर्घकालीन रूपमा कतारी कम्पनीहरूले हाइड्रोजन ऊर्जामा लगानी गर्ने इच्छा राखेका छन् । कुनै एउटा जलविद्युत् आयोजना पाइलट प्रोजेक्टका रूपमा लगानी गर्नका लागि कतारलाई अनुरोध गर्नुपर्ने हुन्छ ।
विद्यालय शिक्षामै व्यावसायिक शिक्षालाई जोड दिने साथै प्लस टुसम्मको सीपमूलक शिक्षा लिएपछि मात्र वैदेशिक रोजगारमा जान सरकारले प्रोत्साहन गर्नुपर्छ । शिक्षा, तालिम र सीपलाई जोडेर मात्रै हामीले रोजगारी सिर्जना गर्न सक्छौं । यसका लागि संघीय सरकारले मात्रै होइन, प्रदेश सरकारहरूले पनि पहल गर्नुपर्छ । कतार नेपालको भरपर्दो मित्र हो ।
विश्वव्यापी आर्थिक संकट गहिरिँदै जाँदा कतारबाट नेपालले लगानी प्रवर्द्धनमा अपेक्षा गर्नु स्वाभाविक हो । साथसाथै जलवायु परिवर्तन लगायतका विषयविरुद्ध नेपाल र कतारले सँगै काम गर्न सक्छन् । हालै कतारमा अल्पविकसित मुलुकहरूको अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । अल्पविकसित मुलुकहरूको वर्तमान अध्यक्षको नाताले पनि नेपालले अल्पविकसित मुलुकको उत्पादनशील क्षमता अभिवृद्धि गर्न कतारसँग कुराकानी गर्नुपर्छ । अहिले कतार स्वास्थ्य कारखानाका लागि राम्रो बजार हो । नेपालका पहाडी र हिमाली भेगमा उत्पादित अलैंची, दाल, कोदो, फापर, फलफूल र महमात्रै होइन कृषिजन्य सामग्री र पानीसमेत कतारलाई बेच्ने सम्भावना हामीसँग छ । नेपाल र कतारबीच द्विपक्षीय व्यापार भने खासै हुने गरेको छैन । कतार–नेपालबीचको व्यापारको कुरा गर्दा यो परिमाण नेपालको कुल वैदेशिक व्यापारको १ प्रतिशतभन्दा कम छ । गत आर्थिक वर्षमा नेपालले १६ खर्बको आयात गर्दा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको
वस्तु तथा सेवा निर्यात गरेको छ । कतारबाट नेपालमा १३ अर्ब ३० अर्ब रुपैयाँको आयात हुँदा ११ करोड निर्यात भएको छ । नेपालको निर्यात बढाउन कतारमा भन्सार सहुलियत दिने योजना अगाडि बढाएमा नेपालको निर्यात कतारमा बढ्न सक्छ । मुख्यतः नेपालको अर्गानिक कृषि वस्तुको बजार कतार हुन सक्छ ।

दृष्टिकोण

दलीय सिन्डिकेटको विरुद्धमा

- बद्रीप्रसाद खतिवडा

उमेरले नब्बे वर्ष भए पनि यो देशका लागि अझै केही गरौं भन्ने भावना जागृत भइरहन्छ । मैले मेरो जीवनमा शैक्षिक र राजनीतिक आन्दोलनको नेतृत्व गरेको र सहभागी भएको त्यो वर्षौं पुरानो विगत सम्झन्छु । हामीले गरेको आन्दोलन देशमा राजनीतिक, सामाजिक, शैक्षिकलगायत नागरिकको जीवनमा आवश्यक पर्ने सेवा, सुविधा एवं अधिकारको सहज प्रत्याभूतिका निम्ति थियो । तर बहुदलीय संसदीय प्रणाली हुँदै लोकतान्त्रिक गणतन्त्रको समयसम्म आइपुग्दा देशमा सबैतिर लथालिंग भएको देख्दा मन बिग्रिएर आउँछ ।
यो ३५ वर्षको अवधिमा राजनीतिक नेतृत्वले सुशासन, समृद्धि र रोजगारीको नारा दिएर जनताबाट मत प्राप्त गरे । सत्तामा पुगिसकेपछि नेताले सुशासन, समृद्धि र रोजगारीको नारा बिर्सिए । उनीहरू व्यक्तिगत स्वार्थका निम्ति विभिन्न काण्डमा सरिक भए । यसरी नेतृत्वले आफूलाई अकुत सम्पत्ति आर्जन गर्ने कार्यमा संलग्न गराउँदा जनतामा नेतृत्वप्रति र यो राजनीतिक व्यवहारप्रति निराशा बढेको छ । छिमेकी भारत र चीन विश्व राजनीतिको मूल प्रवाहमा छन् । यी देशबीच को पहिलो बन्ने सोचअनुसार विकासको गति तीव्र छ । तर हामी छिमेकी देशलाई समेत रिझाउन नसकेर आफू आफैंमा विभिन्न काण्डमा सहभागी मात्र होइन, मिलेर बाँडीचुँडी खानका निम्ति सत्ता समीकरण र सिन्डिकेटको झमेलामा परिरहेका छौं । मलेसियाले तीन दशकमा विकासमा विश्वलाई चकित बनाएको छ । दुबई, कतार जस्ता खाडी मुलुकको प्रगति देखेर विश्व चकित छ । तर नेपालमा प्रायः सबै सम्भावना भएर पनि केही नभएको जस्तो हुनु दुःखद छ ।
दैनिक हजारौं युवा विदेसिन्छन्, यिनीहरूका निम्ति राज्यले कम्तीमा पाँच प्रतिशत सहुलियत ऋण उपलब्ध गराउनुपर्छ । यसो गर्दा विदेश जानैपर्ने युवालाई आर्थिक भार कम हुन्छ । अर्बौं रकम अध्ययन गर्ने शीर्षकमा बाहिरिन्छ । केही गरौं भनेर न कहिल्यै कार्यक्रम ल्याउँछन्, न त ठोस योजना नै बनाउँछन् । अब स्वतन्त्र मतदाताले (दलमा बाँधिएर दूषित भएकाहरूलाई हैन) बुझ्नुपर्छ, आगामी २०८४ सालको निर्वाचनबाट राजनीतिक दलको मुख हेरेर होइन कि सक्षम र योग्य एवम् प्रभावकारी कार्यक्रम ल्याउने वैकल्पिक दललाई सत्तामा पुर्‍याउनुपर्छ । बहुदलीय व्यवस्थापछि धेरै उद्योगधन्दा बिक्री गरिए । कैयौं बन्द गराइए । निजीकरणका नाममा यस्तो बेथिति मौलायो कि यसले देशलाई खोक्रो पारिसकेको छ । सरकारद्वारा बिक्री गरिएका वा खण्डहर बनाइएका कागज कारखाना, टायर कारखाना, जुत्ताचप्पल कारखाना, चुरोट कारखाना लगायतलाई सहकारी मोडलमा पुनःसञ्चालन गर्न वैकल्पिक दलको प्राथमिकता पर्छ । साथै खाद्यान्न, जलविद्युत्, वनसम्बन्धी उद्योगलाई नेपालको मूल उद्योगका रूपमा स्थापित गरेर देशभित्र रोजगारी सिर्जना गर्नुपर्छ । देशभित्र बसोबास गर्ने सबैमा राष्ट्रियताप्रति सचेत गराउनुपर्छ र प्रवासमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने व्यवस्था गर्नुपर्छ । नयाँ निर्वाचितहरूले सार्वजनिक र निजी विद्यालयको विभेद हटाउनुपर्छ । नेपालमा शैक्षिक असमानताले पनि निकै ठूलो विभेद उत्पन्न गरेको छ । यसको निराकरण गरी सबै नेपाली विद्यार्थीबीच समानता ल्याउन आवश्यक छ ।
स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको आवश्यकता छ । यस क्षेत्रका विज्ञ एवम् स्वास्थ्य अभियन्तासँगको परामर्शमा, स्वास्थ्य क्षेत्रलाई सबैका निम्ति सहज पहुँचको वातावरण तयार गर्नुपर्छ । यसैगरी, नेपालका खोलानालालाई प्रदूषणमुक्त गराउनुपर्छ । साथमा हरियाली बढाउनुपर्छ । कृषि, वन र जलका क्षेत्रमा काम गर्ने व्यक्ति, संस्था वा समूहलाई सरकारले पुरस्कृत र प्रोत्साहित गर्नुपर्छ । युवा विदेसिएर बस्ती उजाड भएका गाउँका जमिनलाई आधुनिक प्रविधि, चक्ला खेती प्रणाली अपनाएर सहकारी मोडलमा जानुपर्छ । यसले उत्पादन बढाउनुका साथै लाखौंलाई रोजगारी दिन्छ । कर्णाली र मधेश प्रदेशका लागि विकासका प्याकेज कार्यक्रम तयार गरी लागू गर्न जरुरी छ ।
राजनीतिका दुईवटा पखेटा हुन्छन्– राजनीतिक दल र जनवर्गीय संगठन । ३५ वर्षदेखि दलहरू सञ्चालित छन्, तर जनवर्गीय संगठन पूरै निष्क्रिय छन् । जनवर्गीय संगठनको भूमिकालाई दलपिच्छे टुक्राएर पक्षाघातको सिकार बनाइएको छ । जनवर्गीय संगठनहरू स्वतन्त्र र एक हुनुपर्छ । राज्यले प्रत्येक एउटा स्वतन्त्र जनवर्गीय संगठनलाई मान्यता दिनुपर्छ । निकट भविष्यमा पुल्चोकको मन्त्री क्वार्टर भैंसीपाटीमा सर्दै छ । ती क्वार्टर जनवर्गीय संगठनलाई उपलब्ध गराउनुपर्छ । साथै जनवर्गीय संगठन सञ्चालनका लागि राज्यकोषबाट केही रकम दिने नीति नियम बनाउनुपर्छ । यो काम नवोदित वैकल्पिक सरकारको प्राथमिकतामा पर्छ ।
देशमा सबै विषयको सहज समाधान गर्ने, संविधान संशोधन गर्न सक्ने गरी नयाँ वैकल्पिक राजनीतिक शक्तिलाई अघि बढाउने बेला आएको छ । असल नेतृत्व पाएकाले नै मलेसियनको प्रतिव्यक्ति वार्षिक आय चौध हजार अमेरिकी डलर छ । तर, नेपालमा कुशल नेतृत्वको अभावले प्रतिव्यक्ति आय तेह्र सय अमेरिकी डलरमा खुम्चिएको छ । यही अवस्थामा रहने कि आगामी पन्ध्र वर्षमा मलेसियाको स्तरमा उक्लने ? यो फैसला गर्ने अधिकार आम मतदातामा छ ।

Page 8
युवा ग्यालरी

क्यास्ट्रोद्वारा राजीनामा

सन् २०११ मा आजकै दिन
- कान्तिपुर संवाददाता


सन् २०११ मा आजकै दिन (अप्रिल १९) मा फिडेल क्यास्ट्रोले कम्युनिस्ट पार्टीको प्रथम सचिवबाट राजीनामा दिएका थिए । १९२६ को अगस्ट १३ मा जन्मिएका क्यास्ट्रोले क्युबामा निरन्तर साढे चार दशक शासन गरे । क्यास्ट्रोले तानाशाही सैनिक जर्नेल फुल्गेन्सियो बाटिस्टालाई पराजित गर्दै देशमा कम्युनिस्ट शासन स्थापित गरेका थिए । १९६५ को अक्टोबर ३ मा कम्युनिस्ट पार्टीको प्रथम सचिव बनेका क्यास्ट्रो १९५९ फेब्रुअरी १६ मा प्रधानमन्त्री बनेका थिए । १९७६ डिसेम्बर २ सम्म देशको प्रधानमन्त्री रहेका उनी त्यसयता २००८ फेब्रुअरी २४ सम्म क्युबाको राष्ट्रपति थिए । १९५३ मा बाटिस्टा नेतृत्वको सरकार ढाल्ने उनको प्रयास असफल भएको थियो । त्यसलगत्तै उनी एक वर्षपछि जेल परे । जेलबाट रिहा भएलगत्तै उनले राहुल क्यास्ट्रो र चे ग्वेभारासाग मिलेर क्रान्ति अघि बढाएका थिए । क्रान्ति सफल भएसँगै चिढिएको अमेरिकाले १९६१ मा उनलाई अपदस्थ गर्ने प्रयाससमेत गरेको थियो । क्यास्ट्रोको २०१६ को नोभेम्बर २५ मा ९० वर्षको उमेरमा निधन भएको थियो ।

युवा ग्यालरी

प्रभावशाली आलिया र देव

- बुद्धिसागर मरासिनी

(काठमाडौं)
बलिउड अभिनेत्री आलिया भट्ट बेलाबेलामा चर्चा र विवादमा आइरहन्छिन् । यस पटक भने उनी प्रतिष्ठित टाइम म्यागजिनका कारण चर्चामा आएकी हुन् । र, यसको कारण हो, म्यागजिनले सार्वजनिक गरेको प्रभावशाली एक सय व्यक्तिहरूको सूची । बिहीबार सार्वजनिक २०२४ का सबैभन्दा प्रभावशाली एक सय व्यक्तिको सूचीमा आलिया कलाकारिता विधामा अटाएकी हुन् । उनीसँगै बलिउड फिल्ममा आबद्ध कलाकार तथा निर्देशक देव पटेल पनि प्रभावशाली सय व्यक्तिको सूचीमा अटाएका छन् ।
म्यागजिनले आलिया ‘अद्भुत र निकै शक्तिशाली अभिनेत्री’ भएको उल्लेख गरेको छ । विश्वकै शीर्ष अभिनेत्रीमध्ये एक आलियाले एक दशकयता बलिउड फिल्म उद्योगमा पुर्‍याएको योगदान प्रशंसायोग्य भएको टाइमले उल्लेख गरेको छ । त्यसका साथै, आलिया व्यवसाय र परोपकारी कार्यमा पनि सक्रिय रहेकी म्यागजिनले उल्लेख गरेको छ । हलिउड निर्देशक, निर्माता तथा लेखक टम हार्परले आलिया निकै सरल र रमाइली भएको उल्लेख गरेका छन् । ‘आफ्नो कामबारे जान्ने उनको इच्छाशक्ति गजबको छ । काममा केन्द्रित र नयाँ विचारहरूका लागि खुला आलियामा रचनात्मक जोखिम लिन सक्ने क्षमता छ,’ हार्परले भनेका छन् ।
आलियाले गत वर्ष ‘हार्ट अफ स्टोन’ मार्फत हलिउडमा डेब्यु गरेकी थिइन् । हार्पर निर्देशित फिल्ममा आलियाले भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा गेल गेडोट र जोनी डर्नन मुख्य भूमिकामा थिए । ‘फिल्मको एक टेकमा उनका कारण आएको सुधार मेरा लागि एक अविस्मरणीय क्षण बन्यो,’ हार्परलाई उल्लेख गर्दै टाइमले उल्लेख गरेको छ ।
आफूमा रहेको स्टारडमलाई वास्तविकता र संवेदनशीलतासँग मिलाउने क्षमता नै आलियाको सुपरपावर भएको उनको भनाइ छ । ‘एक अभिनेत्रीका रूपमा उनी चम्किली छन् र एक व्यक्तिका रूपमा उनमा अन्तर्राष्ट्रिय स्टार बन्ने सन्तुलित सकारात्मक विश्वास र रचनात्मकता छ,’ हार्परले भनेका छन् ।
१९९३ मार्च १५ मा भट्ट परिवारमा जन्मिएकी आलियासँग बेलायती नागरिकता छ । उनका बुबा महेश भट्ट बलिउड फिल्म निर्माता तथा निर्देशक हुन् । आलियाका काका मुकेश भट्ट फिल्म निर्माता तथा कलाकार हुन् । आलियाले पाँच वर्षको उमेरमा १९९९ मा ‘संघर्ष’ फिल्ममा बाल कलाकारका रूपमा अभिनय गरेकी थिइन् । तनुजा चन्द्र निर्देशित फिल्मका निर्माता मुकेश हुन् । २००५ मा आलियाले सञ्जयलीला भन्सालीको फिल्म ‘ब्ल्याक’ का लागि अडिसन दिएकी थिइन्, तर कुनै भूमिका भने पाइनन् ।
२०१२ मा करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट भने आलिया बलिउडमा निकै चर्चित बनिन् । फिल्मको मुख्य अभिनेत्रीका लागि पाँच सय जनाले अडिसन दिएकामा उनी तौल घटाउने सर्तमा छानिइन् । फिल्मको सुटिङ सुरु हुनुअघि करिब तीन महिनाको अवधिमा आलियाले १६ केजी तौल घटाएकी थिइन् । त्यसपछि २०१४ मै उनले ‘हाई वे’, ‘टु स्टेट्स’, ‘हम्प्टी शर्माकी दुल्हनिया’, ‘अग्ली’ मा अभिनय गरिन् । अर्को वर्षमा ‘सानदार’ मा देखिएकी आलियाका २०१६ मा ‘कपुर एन्ड सन्स’, ‘उड्ता पञ्जाब’, ‘ए दिल हे मुस्किल’, ‘डियर जिन्दगी’ रिलिज भए ।
अर्को वर्ष ‘बद्रीनाथकी दुल्हनिया’ बनेकी आलियाका २०१८ मा दुई फिल्म आए, ‘राजी’ र ‘जिरो’ । २०१९ मा ‘गली ब्वाई’, ‘कलंक’, ‘स्टुडेन्ट अफ द इयर–२’, मा अभिनय गरेकी आलिया एक वर्षपछि भने ‘सडक–२’ मा मात्र देखिइन् । २०२२ मा ‘गंगुबाई कठियावाडी’ मा भने उनको अभिनयले तहल्का नै मच्चायो । हुसैन जैदीको किताब ‘माफिया क्वीन अफ मुम्बई’ को एक अध्यायमा आधारित फिल्मलाई सञ्जयलीला भन्सालीले निर्देशन गरेका हुन् । फिल्ममा आलिया मुम्बईको ‘रेड लाइट एरिया’ कमाठीपुराको शक्तिशाली, प्रेमिल र आदरणीय पात्रका रूपमा देखिएकी छन् ।
सन् १९६० को सेटिङमा खिचिएको फिल्ममा हिरोइन बन्ने सपना बोकेर सुटुक्क घर छाडेर कठियावाडीदेखि मुम्बई छिरेकी १६ वर्षीया युवती गंगाको कथा छ । तर रिलको हिरोइन बन्न नपाएकी उनी कमाठीपुराको बदनाम गल्लीमा आफ्नो शरीर बेचेर बाँचिरहेकाहरूका लागि भने ‘रियल हिरो’ बनिन् । ‘गंगुबाई कठियावाडी’मा गंगुबाईको मुख्य भूमिका दमदार रूपमा निभाएकी छन् आलियाले । हजार रुपैयाँका लागि प्रेमीबाट बेचिएकी गंगा पछि कसरी कमाठीपुराका करिब चार हजार यौनकर्मीको हकहितका लागि लडिन् र कमाठीपुराकै गंगुबाई बन्न सफल भइन् भन्ने देखाइएको छ फिल्ममा ।
कोठीमा जन्मेका बच्चाहरूलाई विद्यालय भर्ना गराउने सन्दर्भमा गरेको लडाइँमा र वेश्यावृत्तिलाई हेयको दृष्टिले हेर्ने समाजविरुद्ध गंगुबाईले दिएको भाषणमा निकै जमेकी छिन् आलिया । सोही वर्ष उनका अन्य तीन फिल्म ‘आरआरआर’, ‘डार्लिङ्स’ र ‘बम्हास्त्र’ आए । गत वर्षभने उनका ‘रक्की और रानी कि प्रेम कहानी’ र ‘हर्ट अफ स्टोन’ आए । उनको पछिल्लो फिल्म ‘जिग्रा’ सेप्टेम्बरमा रिलिज हुँदै छ । कतिपयले आलियालाई आफ्ना बुबा र काकासँग जोडेर बेलाबेलामा फिल्म निर्माता परिवारकी भन्दै आलोचना गर्ने गर्छन् । तर त्यस्तो आलोचनालाई उनले अभिनयमार्फत नै कडा जवाफ दिने गरेकी छन् ।
टाइमको प्रभावशाली सयको सूचीमा अटाएका अर्का कलाकार हुन् देव पटेल । १९९० अप्रिल २३ मा जन्मिएका देव बेलायती अभिनेता तथा फिल्ममेकर हुन् । उनले २००७ मा अनवर खर्रालको ‘स्किन्स’ नाटकबाट अभिनय यात्रा सुरु गरेका हुन् । डेभिड बोयल निर्देशित ‘स्लमडग मिलियनेर (२००८)’ बाट भने उनी निकै चर्चामा आए । फिल्मले २००९ मा उत्कृष्ट फिल्मको ओस्कार अवार्ड प्राप्त गरेको थियो । उत्कृष्ट फिल्मसँगै ‘स्लमडग मिलियनेयर’ ले निर्देशन, सम्पादन, ध्वनि सम्पादन, छायांकन लगायतका आठ विधामा अवार्ड हात पारेको थियो ।
भारतीय लेखक विकास स्वरूपले सन् २००५ मा लेखेको उपन्यास ‘क्यू एन्ड ए’ मा आधारित रहेर फिल्म निर्माण गरिएको हो । फिल्ममा भारतका झुपडपट्टीमा रहेका समस्याका साथै सांस्कृतिक र राष्ट्रिय मुद्दा उठान गरेको छ । निर्देशक बोयलले अनुराग काश्यपको ‘डीवाईके’ चलचित्रबाट प्रभावित भएर ‘स्लमडग मिलियनेयर’ बनाएको बताएका थिए । फिल्ममा देव पटेल र फ्रिडा पिन्टो मुख्य भूमिकामा छन् । उनीहरूसँगै अनिल कपुर, इरफान खान, मधुर मित्तललगायतको पनि फिल्ममा अभिनय देख्न सकिन्छ । ओस्कारका साथै फिल्मले बाफ्टा र गोल्डन गोल्ब्स अवार्डमा पनि उत्कृष्ट फिल्म र निर्देशकको अवार्ड प्राप्त गरेको थियो ।
‘स्लमडग मिलियनेर’ यता देवले थुप्रै फिल्ममा अभिनय गरेका छन् । उनले ‘द लास्ट एअरबेन्डर’, ‘द बेस्ट एक्जोटिक म्यारीगोल्ड होटल’, ‘अबाउट चेरी’, ‘द रोड विदिन’, ‘द म्यान हु न्यू इन्फिनिटी’, ‘वन्ली यस्टर्डे’, ‘लायन’, ‘होटल मुम्बई’ ‘द ग्रिन नाइट’ लगायतका फिल्म अभियन गरेका छन् । पछिल्लो पटक भने उनकै लेखन, निर्देशन र निर्माणमा ‘मंकी म्यान’ फिल्म आएको छ । यो उनको निर्देशकीय डेब्यु फिल्म हो । अस्कर विजेता निर्देशक डानियल कालुयाले आफूलाई ‘मंकी म्यान’ निकै मन परेको र ‘देव अविश्वसनीय निर्देशक’ भएको उल्लेख गरेका छन् । ‘देवसँग काम गर्ने एउटा गति छ । कुनै पनि कुरामा सीमित छैनन् र उनी निडर छन्,’ कालुयाले टाइममा लेखेका छन्, ‘देवसँग आफू अझै अघि बढ्ने र हामीलाई चकित पार्ने क्षमता छ । हेरौं उनले आगामी दिनमा के गर्छन् ।’ देवको ‘र्‍याबिट ट्र्याप’ अर्को वर्ष रिलिज हुँदै छ ।
कलाकारितातर्फ अमेरिकी गायिका दुआ लिपा पनि टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा छन् । उनी तीन पटक ग्रामी अवार्ड जितेकी गायिका हुन् । टाइमले कलाकारिता, आइकन, टाइटन, नेतृत्व, आविष्कारक र विभिन्न विधाका अगुवा लगायतलाई समेटेर २०२४ का प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको हो ।

 

Page 9
अर्थ वाणिज्य

रबर खेतीमा नर्सरी स्थापनादेखि संकलन केन्द्रसम्म अनुदान

- राजु चौधरी

(काठमाडौं)
सरकारले रबर खेतीलाई प्रोत्साहन गर्न नर्सरी स्थापना, निजी जमिनमा बगैंचा विस्तारदेखि संकलन केन्द्र निर्माणसम्ममा अनुदान दिने भएको छ । अन्य बालीको तुलनामा रबर खेतीबाट राम्रो आम्दानी हुने निष्कर्षसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उत्पादन बढाउन विभिन्न शीर्षकमा अनुदान दिन लागेको हो ।
मन्त्रालयले ‘स्थानीय तहमा सञ्चालन हुने रबर खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि–०८०’ ल्याएर अनुदान बाँड्न खोजेको हो । ०८० चैत २१ मा मन्त्रीस्तरबाट स्वीकृत कार्यविधिमा रबर खेती गर्दा ५० प्रतिशतसम्म अनुदान पाउने कार्यविधिमा उल्लेख छ । ‘चालु आर्थिक वर्ष ०८०/८१ मा स्थानीय तहमार्फत रबर खेती प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि बजेट हस्तान्तरण भएकाले कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकार, विनियोजन ऐन, ०८० को दफा ९ को उपदफा (२) बमोजिम कार्यविधि तयार पारिएको छ,’ कार्यविधिमा भनिएको छ, ‘रबर नर्सरी स्थापना गर्दा स्थानीय लागत एस्टिमेटका आधारमा प्रतिपालिका एउटा स्क्रिन हाउस/प्लास्टिक हाउसमा नर्सरी स्थापना हुने गरी औजार उपकरण, नर्सरी पूर्वाधार र सिँचाइ पूर्वाधार सामग्रीमा ५० प्रतिशतसम्म अनुदान दिइनेछ ।’ तर प्रतिनर्सरी अनुदानको रकम ३ लाखभन्दा बढी नहुने उल्लेख छ । यसरी स्थापना हुने नर्सरीको न्यूनतम क्षमता एक हजार वटा बेर्ना उत्पादन गर्न सक्ने हुनुपर्ने जनाइएको छ ।
क्षमता विकास कार्यक्रमअन्तर्गत तालिम र अध्यययन अवलोकन भ्रमण गर्न पाइनेछ । ‘स्थानीय तहले रबरबाली नर्सरी स्थापना तथा सञ्चालन, रबर खेती, अन्तरबाली, कृषि वन व्यवस्थापनलगायत विषयमा तालिम कार्यक्रम सञ्चालन गर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘प्रयोगात्मक अनुभवका लागि अध्ययन अवलोकन भ्रमण सञ्चालन गर्न सकिनेछ ।’
निजी जमिनमा बगैंचा विस्तारअन्तर्गत बेर्ना खरिद, सिँचाइ पूर्वधार, अन्तरबालीका रूपमा लगाइने बालीको बीउ/बेर्ना खरिद र औजार उपकरणमा ५० प्रतिशतसम्म अनुदान दिन सकिने उल्लेख छ । यसका लागि किसान उद्यमी तथा किसान समूहका सदस्यहरूले आफ्नो निजी जग्गामा रबर खेती गर्न सक्छन् । खेती गर्न किसान उद्यमीको हकमा कम्तीमा ५ कट्ठा, समूहको हकमा कार्यक्रममा सहभागी सदस्यको एकीकृत गरी कम्तीमा १० कट्ठा, क्षेत्रफलमा रबर खेती गर्नुपर्नेछ । ‘क्षेत्र विस्तार गर्दा सकेसम्म एउटै क्लस्टरमा हुने गरी गर्न प्राथमिकता दिनुपर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘यसका लागि ५० प्रतिशतसम्म अनुदान दिन सकिनेछ ।’
सार्वजनिक/समुदायको जमिनमा पनि बगैंचा विस्तार गर्न सकिने कार्यविधिमा उल्लेख छ । यसका लागि स्थानीय तहले बिरुवा रोपण गर्न सकिने सम्भाव्य सार्वजनिक जग्गाको पहिचान गरी अभिलेखीकरण गरेको हुनुपर्नेछ । जग्गामा दीर्घकालीन योजना बनाई स्थानीय आवश्यकता र लागत अनुमानका आधारमा अनुदान उपलब्ध गराउन सकिने बताइएको छ ।
उत्पादित रबर संकलन केन्द्र निर्माण र साना उद्योग व्यवसाय प्रवर्द्धनमा समेत अनुदान दिइने जनाइएको छ । ‘यसका लागि लागत अनुमानका आधारमा ५० प्रतिशत वा बढीमा ५ लाखसम्म अनुदान उपलब्ध गराउन सकिनेछ,’ कार्यविधिमा भनिएको छ । अनुदान स्थनीय तहले स्वीकृत ससर्त कार्यक्रमबमोजिम न्यूनतम सर्त, मापदण्ड, प्रासंगिक विषयअनुसार दिइने कार्यविधिमा उल्लेख छ । अनुदान कार्यक्रम रबर उत्पादन हुने सीमित स्थानीय तहमा मात्रै सञ्चालन हुनेछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार झापा, इलाम, मोरङ, सुनसरीमा रबर खेती गरिन्छ । यसको औसत उत्पादकत्व ०.४३ टन प्रतिहेक्टर हो । सबैभन्दा बढी झापामा ४ सय ६० हेक्टरमा रबर खेती गरिन्छ । यस क्षेत्रफलबाट १ सय ९५ टन रबर उत्पादन हुन्छ । दोस्रोमा इलाममा २५ हेक्टरबाट १४ टन उत्पादन हुन्छ । मोरङमा १५ हेक्टरमा खेती हुन्छ । यसबाट ७ टन उत्पादन हुन्छ । सुनसरीमा १० हेक्टरमा खेती भई ५ टन रबर उत्पादन हुन्छ । मन्त्रालयले यही जिल्लालाई लक्षित कार्यविधि ल्याएको छ । कार्यविधिअनुसार सुनसरीको इटहरी उप–महानगरपालिका, सुनसरीको धरान उप–महानगरपालिका, इलामको माई नगरपालिका, झापाको बिर्तामोड नगरपालिका, झापाकै भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाका किसानले अनुदान पाउनेछन् ।
झापाको शिवसताक्षी नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, मोरङका उर्लाबारी, लेटाङ र सुन्दरहरैचा नगरपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका, इलामको चुलाचुली गाउँपालिका, झापाका कचनकवल, बाह्रदशी र बुद्धशान्ति गाउँपालिकाका किसानले पनि अनुदान पाउनेछन् ।
अनुदानका लागि परेको आवेदनको छनोट गर्न स्थानीय तहले मापदण्ड निर्धारण गर्नुपर्नेछ । नगद अनुदान दिइने कार्यक्रमको हकमा अनुदान रकम सोझै अनुदानग्राहीको बैंक खातामा जम्मा हुने गरी भुक्तानी गरिने कार्यविधिमा उल्लेख छ । यस कार्यक्रमअन्तर्गत प्राप्त हुने बजेट दुरुपयोग गरेको पाइए कानुनअनुसार कारबाही गरी असुल उपर गरिने जनाइएको छ । कार्यविधिअनुसार किसान, कृषि उद्यमी, किसान समूह, कृषिसम्बन्धी सहकारी, कृषिसँग सम्बन्धित समिति र कृषि व्यवसायी गर्नेलाई अनुदान उपलब्ध गराइनेछ । अनुदान मल, बीउ, बेर्ना, बिरुवा, विषादी, जैविक पदार्थ तथा हार्मोन, कृषि चुन तथा रसायन, पोषक तथा सूक्ष्म तत्त्व, कृषि औजार, उपकरणमा अनुदान दिइने कार्यविधिमा उल्लेख छ ।

अर्थ वाणिज्य

जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा जनशक्ति अभाव

- कृष्णप्रसाद गौतम

(सुर्खेत)
हरिहरसिंह राठौर (जाजरकोट)
भूकम्पका कारण घरबास गुमाएर अस्थायी टहरामा गुजारा चलाइरहेका भूकम्पपीडित मापदण्डअनुसार भूकम्प प्रतिरोधी घर निर्माण गर्न दक्ष सिकर्मी तथा डकर्मी (मिस्त्री) खोज्ने तनावमा छन् ।
जाजरकोटका केही पालिकाले आफ्नै तर्फबाट पुनर्निर्माणको काम सुरु गर्न खोजे पनि जनशक्ति अभावले समस्या भएको छ । आफ्नै लगानीमा घर बनाउन खोज्ने भूकम्पपीडितलाई पनि कामदार नहुँदा समस्या भएको छ । बारेकोट गाउँपालिकाका पूर्वअध्यक्ष महेन्द्र शाहले सदरमुकाम खलंगास्थित थाप्लेमा घर भत्किएपछि आफैं मापदण्डअनुरूपकै निर्माण गर्न खोजेका थिए । जसका लागि २ महिनाअघि त्यसको सुरुवात पनि गरे । तर अझै पहिलो तलाको काम पनि पूरा हुन सकेको छैन । ‘पछि कामदार पाइन्नन् कि भनेर पहिल्यै घर बनाउन खोजेको,’ उनले भने, ‘अहिले पनि कामदार नपाउँदा घर कहिले पूरा हुने हो थाहा छैन ।’
जिल्लामा सिकर्मी र डकर्मीसम्बन्धी राम्रो ज्ञान नभएका दक्ष तथा अदक्ष जनशक्तिकै अभाव र अलिअलि सिकेका जनशक्ति बिदेसिने क्रम बढेकाले पुनर्निर्माणमा ढिलाइ हुने देखिएको रेडक्रस कर्णाली प्रदेशका महासचिव नरबहादुर नेपालीले बताए । ‘अहिलेसम्म यहाँ जोजति सिकर्मी र डकर्मीले काम गरिरहेका छन्, उनीहरूले परम्परागत तरिकाबाटै घर बनाइरहेका छन्,’ उनले भने, ‘दक्ष जनशक्ति स्थानीयस्तरमा छैनन्, जसका कारण मापदण्डअनुरुप र भूकम्पप्रतिरोधी घर निर्माण गर्न ठूलो चुनौती छ ।’
गत कात्तिक १७ को भूकम्पले सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति व्यहोरेको भेरी नगरपालिका–३ पिपेका कमल रानाले अहिलेको अवस्थामा घर निर्माण गर्ने दक्ष सिकर्मी र डकर्मी (मिस्त्री) पाउनै छाडिएको जनाए । उनले पनि सरकारी अनुदान नलिएरै घर निर्माण गर्न खोजे पनि कामदार अभावका कारण सुरु गर्न नसकेका हुन् । ‘यहाँ काम सिकेपछि विदेश गइहाल्छन्,’ उनले भने, ‘अस्थायी टहरा निर्माणमा पनि जनशक्ति अभावकै समस्या भोग्यौ, अब पनि नयाँ घर बनाउन कामदारकै समस्या देखियो ।’ अहिले पनि स्थानीय बजारमा भारतीय मिस्त्रीबाट काम चलाउनु परिरहेको उनको भनाइ छ ।
पुनर्निर्माणका लागि अर्धदक्ष कामदारसमेत अभाव भएको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । अस्थायी आवास पनि सिकारु मिस्त्रीले नै बनाएको उनले जनाए । ‘जिल्लामा अहिले निर्माण मजदुरले दैनिक ८ सयदेखि ९ सय रुपैयाँसम्म ज्याला पाउँदै आएका छन्, यस हिसाबले मजदुरले यहाँ मासिक २५ हजारसम्म आम्दानी गर्न सक्छन्,’ उनले भने, ‘तर विदेश जाँदा मासिक ४० देखि ५० हजारसम्म कमाउन सकिने लोभले धेरै अदक्ष मजदुरसमेत बिदेसिएका छन् ।’ उनका अनुसार जिल्लाभरि घर निर्माणका लागि कम्तीमा १० हजार कामदार चाहिने अवस्था छ ।
भूकम्प प्रभावित पालिकाहरूमा पूर्वाधार निर्माण तथा भूकम्पप्रतिरोधी आवास निर्माणका लागी कर्णाली प्रदेश सरकारको भैतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय दक्ष जनशक्ति तयार गर्न जुटेको छ । भूकम्पमा सहयोग गर्न आएका विभिन्न अन्तर्राष्ट्रिय र स्थानीय गैरसरकारी संघसंस्थासँग समन्वय गरेर आगामी २ महिनामा ५ सय दक्ष जनशक्ति उत्पादन गर्ने योजना बनाएको मन्त्रालयका कानुन अधिकृत विकास डीसीको भनाइ छ ।
जनशक्ति अभावको समस्या समाधान गर्न हेल्भेटासले बढी भौतिक क्षति भएका जाजरकोटको भेरी र नलगाड नगरपालिका तथा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा झन्डै ५ सय युवालाई भूकम्पप्रतिरोधी घर निर्माणको ‘ए लेभल’को तालिम दिन थालेको छ ।
पहिलो चरणमा भेरी नगरपालिका–१ र ३ लाई लक्षित गरी तालिम सुरु गरिएको हेल्भेटासका सीप तथा पुनर्निर्माण परियोजना संयोजक दिनेश पाण्डेले बताए । बुधबारदेखि सुरु भएको ५० दिने तालिमले पुनर्निर्माणमा जनशक्ति अभावको समस्या समाधान गर्न केही सहयोग पुग्नेछ । भूकम्प प्रतिरोधी घर निर्माण गर्दा डकर्मीको अभाव हुन नदिन र पुनर्निर्माण गर्दा देखिन सक्ने समस्या समाधानका लागि प्रदेश सरकारसँग मिलेर काम गरिने पाण्डेले जानकारी दिए । भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले पनि जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास निर्माण गर्न १२ क्लस्टरमा तालिम दिएर जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख महेन्द्रकुमार भडेलले बताए । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ७३ हजार ८ घर भत्किएकामा अहिलेसम्म झन्डै ६८ हजार अस्थायी आवास बनेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । अस्थायी आवास बनाउन सरकारले २ किस्तामा गरी २५/२५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । तर अस्थायी टहरा निर्माण गरेका भूकम्पपीडितले अझै दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।

अर्थ वाणिज्य

नक्कली लाभग्राहीको बिगबिगी

- महेश केसी

(रुकुम पश्चिम)
रुकुम पश्चिममा अस्थायी टहरा बनाउने क्रम लगभग अन्तिम चरणमा पुगेको छ । वास्तविक पीडितहरू सुरक्षित स्थायी आवासको प्रतीक्षामा छन् । तर घर क्षति नै नभएकाहरू अस्थायी लाभग्राही बनेको भन्दै उजुरी परेपछि स्थानीय प्रशासनले यसबारे अध्ययन थालेको छ । रुकुम पश्चिममा लाभग्राही कायम भएका ३२ हजार ९ सय ९६ मध्ये ३१ हजार २२ ले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत २५ हजार रुपैयाँ बुझेका छन् । त्यसमध्ये ३० हजार ९ सय २४ वटा अस्थायी टहरा निर्माण भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।
भूकम्पका कारण बस्ने ठाउँ नै नभएको भनेर लाभग्राहीले स्वःघोषणा गरेपछि अस्थायी टहरा बनाउन सरकारले पहिलो किस्तावापत २५ हजार रुपैयाँ दिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । ‘तर घरमा सामान्य क्षति भएकादेखि बस्न लायक घर भएकाहरूले पनि विभिन्न बहानामा टहरा बनाएको गुनासो आयो,’ उनले भने, ‘उनीहरू पनि अब दोस्रो किस्ता लिने तयारीमा छन् । तर हामी आवश्यक प्रमाण नपुगेकालाई दोस्रो किस्ताको रकम निकासा नदिने पक्षमा छौं ।’ मुसीकोट नगरपालिका–१२ जुम्लाबाङकी झपा रावलको घर भूकम्पका कारण सामान्य रूपमा चर्किएको छ । उनको ५ जनाको परिवार अहिलेसम्मै त्यही घरमा बस्दै आएको छ । तर गाईभैंसी बाँध्दै आएको गोठ भत्किएपछि उनले पनि अस्थायी टहरा निर्माण गरेकी छिन् । तर मूल घर नभत्किएकालाई सरकारले दोस्रो किस्ताको रकम नदिने सुनेपछि उनले त्यही घर भत्काएर दोस्रो किस्ताका लागि दाबी गर्ने तयारीमा रहेको बताइन् ।
‘मूल घरमा सामान्य क्षति छ, गोठचाहिँ भत्किएको हो,’ उनले भनिन्, ‘यसकारण २५ हजारका लागि फाराम भरेका हौं, फेरि भूकम्प गए त यो घर पनि भत्किन्छ नि, त्यसैले सरकारले हाम्रो घर पनि पुनर्निर्माण गर्न जरुरी छ ।’ उनका छिमेकी रणबहादुर रावलले पनि गोठ भत्किएपछि अस्थायी आवास बनाएको जनाए । तर उनी पनि मूल घरमै बसिरहेका छन् । उनले पनि दोस्रो किस्ताको रकम नआए बसिरहेको घर भत्काउने तयारी गरेको बताए । तर वास्तविक भूकम्पपीडितहरूले भने दोस्रो किस्ता र सुरक्षित स्थायी आवासको प्रतीक्षा गरिरहेको मुसीकोट नगरपालिका–१४ लोरिबाङका भूकम्पपीडित ओपिराम खत्रीले जनाए । ‘सामान्य क्षति पुगेकाले राहतमा दाबी गर्दा हामीलाई पनि समस्या भयो,’ उनले भने, ‘कतिपय छिमेकीले घर नभत्किए पनि रकम पाउन अस्थायी आवास बनाएका छन्, हाम्रा लागि टहराको बास कष्टकर छ, अरुले भने रहरका लागि अस्थायी आवास बनाउँदा हामीलाई थप पीडा भयो ।’ सानीभेरी गाउँपालिका–३ ज्यामिरेकी भूकम्पपीडित पार्वती डाँगीले पनि आफूहरू चर्किएकै घरमा बसिररहेको गुनासो गरिन् । ‘यत्रो परिवार अनि अन्नपात र सरसामान टहरामा अटाउँदैन,’ उनले भनिन्, ‘टहरामा सहनै नसक्ने गर्मी पनि हुन्छ, त्यसैले हामी त भत्किएकै घरमा फर्कन बाध्य भयौं ।’
रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि स्थानीय विपद् कोषबाट अहिलेसम्म ७७ करोड ५५ लाख ५० हजार रुपैयाँ लाभग्राहीसम्म पुगेको छ । रकम लिने सबै वास्तविक लाभग्राही हुन् वा होइनन् भन्नेबारे निर्णय गर्न स्थानीय सरकार चुकेको नागरिक अगुवा नरेन्द्र केसीले बताए । मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले भने लाभग्राहीले गरेको स्वघोषणाका आधारमा नै पहिलो किस्ता दिएको दाबी गरे । ‘पहिलो किस्ता दिँदा हतार पनि भयो,’ उनले भने, ‘अब मापदण्ड पुगेकाहरूबाहेकले पाए–नपाएकोबारे हामी अनुगमन गरेर वास्तविक लाभग्राहीका लागि मात्रै रकम पठाउँछौं ।’ स्वघोषणाको नाममा हुँदै नभएको तथ्यांक प्रस्तुत गरेर कसैले लाभ लिएको भए उनीहरू लाभग्राहीको सूचीबाट हट्ने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

Page 10
समाचार

टेरामक्स प्रकरणमा पूर्वकानुन सचिव ज्ञवाली पनि तानिए

- मातृका दाहाल

(काठमाडौं)
दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवबाट अवकाश पाएका ज्ञवाली सहसचिव छँदा टेरामक्सका उपकरण खरिदको सुरुवाती चरणमै संलग्न रहेको पाइएको हो ।
अनुसन्धान स्रोतका अनुसार गैरकानुनी रूपमा टेरामक्स उपकरण किन्ने निर्णयमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीसँग बयान लिइसकेको छ । त्यसअघि कानुनका उपसचिव तहका अधिकारी प्राधिकरण बोर्ड बैठकमा संलग्न हुने गरेकामा सहसचिव ज्ञवाली उक्त पदमा नियुक्त भएका थिए ।
त्यसबेला प्रधानमन्त्री बाबुराम
भट्टराई थिए । पछि प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार गठन भयो । चुनावपछि सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा नेतृत्वमा बनेका सरकारमा पनि सहसचिव ज्ञवाली प्राधिकरणको सञ्चालक समिति सदस्य थिए ।
‘जुनसुकै सरकार आए पनि आफू टिकिराख्नु उहाँ (ज्ञवाली) को खुबी नै हो,’ टेरामक्स प्रकरणबारे जानकार एक पूर्वप्रशासक भन्छन्, ‘उहाँ प्राधिकरण बोर्डमा जानलाई त्यसबेला कतिसम्म जोडबल गर्नुभएको थियो भन्ने कुरा टेरामक्स र उहाँसहितको संलग्नतामा भएको निर्णयबाटै पुष्टि भयो नि ।’ प्राधिकरणका अरू नियमित काममा पनि ज्ञवालीले त्यसबेला निकै स्वार्थप्रेरित निर्णय गर्न जोडबल गर्ने गरेको ती पूर्वप्रशासकको दाबी छ ।
अख्तियारले यो प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीद्वय मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्की, हाल मुख्यसचिव रहेका तत्कालीन सञ्चार सचिव वैकुण्ठ अर्याल, हाल राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त रहेका तत्कालीन सञ्चार सचिव महेन्द्रमान गुरुङ, प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव विनोदप्रकाश सिंह, प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहित माथि अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानकै क्रममा सञ्चालक समिति सदस्यका रूपमा खटिएका बेला ज्ञवाली निर्णय प्रक्रियामा संलग्न रहेको तथ्य भेटिएको अख्तियार स्रोतको भनाइ छ । ‘सर्वोच्च अदालतको परमादेशविपरीत हुने गरी टेरामक्स प्रविधिका उपकरण किन्ने निर्णयमा संलग्नता देखिएपछि उहाँ पनि अनुसन्धानको दायरामा हुनुहुन्छ,’ अख्तियार स्रोतले भन्यो, ‘गैरकानुनी निर्णय रोक्न भूमिका खेल्नुपर्नेमा त्यसविपरीत झनै शंकास्पद रूपमा जसरी पनि उपकरण किन्नुपर्ने जोडबलसहित निर्णय प्रक्रियामा उहाँको भूमिका देखिन्छ ।’
ज्ञवाली कानुन मन्त्रालयको सहसचिव छँदै २०६९ मंसिरदेखि २०७४ मंसिरसम्म दूरसञ्चार प्राधिकरण सञ्चालक समिति सदस्य थिए । टेरामक्स उपकरण किन्ने निर्णय हुँदा सञ्चारमन्त्री बस्नेत, सञ्चार सचिव गुरुङ, प्राधिकरण अध्यक्ष झा र सञ्चालक समिति सदस्य ज्ञवालीसहितका पदाधिकारी तथा कर्मचारी सामेल थिए । विदेशबाट आउने फोन/कल नियमन तथा अवैध कल बाइपासबाट हुने राजस्व छली रोक्ने बहानामा टेरामक्स प्रविधिका ‘ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ जडान गर्ने भन्दै यसको योजनामन्त्री बस्नेतका पालामा अघि बढेको थियो । यो निर्णय सर्वोच्च अदालतको फैसलाविपरीत थियो ।
नागरिकको वैयक्तिक गोपनीयता संरक्षण गर्नुपर्ने मागसहित दायर भएको रिटमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको इजलासले २०७२ माघ २१ मा फैसला गर्दै कानुन नबनाई व्यक्तिका फोन/कल, एसएमएसलगायत निगरानी (मनिटरिङ) र नियन्त्रण (कन्ट्रोल) गर्न नपाउने फैसला सुनाएको थियो ।
२०७४ असोज १ मा बसेको प्राधिकरण बोर्ड बैठकले ३ अर्ब २५ करोड लागत स्वीकृत गरेर खरिद प्रक्रिया अघि बढाएको थियो । त्यसकै आधारमा प्राधिकरणले २०७४ असोज २० मा परामर्शदाता छनोट प्रक्रिया थालेको थियो । यसका लागि असोज १७ मा सचिव गुरुङ र मन्त्री बस्नेतबाट स्वीकृति दिइएको देखिन्छ । प्राधिकरणबाट टेन्डरको काम अघि बढाउँदा प्राधिकरण अध्यक्षमा झा थिए । टेन्डर प्रक्रियामा लेबनानमा कार्यालय रहेको भेनराइज सोलुसन्ससहित एसजीएस एसएस जेनेभा, टीकेसी टेलिकम इन्क क्यानडा र एनसफ्ट लिमिटेड हङकङसहित १६ कम्पनी प्रतिस्पर्धामा थिए ।
सुरुमै निश्चित कम्पनीका लागि अनुकूल हुने गरी सेटिङमा टेन्डरका प्रावधान राखिएकाले सर्टलिस्टमा परेका मध्ये भेनराजलाई छानेर २ करोड ३७ लाख ७० हजार अमेरिकी डलरमा ठेक्का दिइएको थियो । जबकि प्रतिस्पर्धामा योभन्दा कम हङकङको टीकेसीले १ करोड १५ लाख डलर प्रस्ताव गरेको थियो । तर, अख्तियारले अनियमितताको आशंकामा ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो ।
त्यसपछि पछि २०७६ वैशाख २९ मा प्राधिकरणले भेनराइजलाई ठेक्का दिने प्रक्रिया रद्द गरेको थियो । अख्तियारको आदेशले ठेक्का रद्द भएपछि भेनराइज अदालत गएको थियो । २०७८ वैशाख १४ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश कुमार चुडालको इजलासले भेनराइजबाटै ठेक्का अघि बढाउन आदेश दियो । त्यसपछि पुनः ठेक्का प्रक्रिया अगाडि बढाइयो ।
२ चरणमा गरेर सवा ३ अर्बका उपकरण ल्याइसक्ने गरी साइप्रसमा दर्ता र लेबनानमा कार्यालय रहेको भेनराइजसँग ठेक्का सम्झौता गरिएकामा पहिलो चरणमा २०७९ भदौमा १ अर्ब १५ करोड रुपैयाँ उल्लेख गरिएका उपकरण अत्यधिक बढी मूल्य देखाएर ल्याएको भेटिएको थियो । पहिलो चरणमा भित्रिएका उपकरण अस्वाभाविक मूल्य उल्लेख गरेको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सामान रोकेर छानबिन गरेको थियो । टेरामक्स प्रविधि उल्लेख गरिएका उपकरणमध्ये २ वटा ल्यापटपको मूल्य प्रतिगोटा ५० हजार अमेरिकी डलर देखाइएको थियो । सर्भर्र भनिएको सामान नेटवर्किङ स्विच मात्र रहेको भन्सारले गराएको प्राविधिक जाँच प्रतिवेदनमा उल्लेख छ । सर्भर भनिएका १ सय ९ वटा उपकरण प्रतिगोटा ७९ हजार ९ सय अमेरिकी डलर देखाइएको छ ।
त्यसमा कैफियत देखिएपछि करिब ३२ करोड रुपैयाँ जमानत राखेर प्राधिकरणले उपकरण प्राधिकरणलाई जिम्मा लगाएको थियो ।

Page 11
खेलकुद

आशिषद्वारा पुरानो कीर्तिमान भंग

- ध्रुव तुलाधर

(काठमाडौं)
सुदूरपश्चिम प्रदेशका आशिष महरले दशरथ रंगशालाको ट्र्याक एन्ड फिल्डमा बिहीबार जुनियरतर्फको ३६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान
तोडेका छन् ।
उनले त्यो कीर्तिमान छात्र ट्रिपलजम्पमा बनाए । उनले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा १४.१९ मिटर जम्प गर्दै स्वर्ण जितेका थिए । आशिषले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान तोडेका हुन् । धनवीरले उक्त कीर्तिमान तत्कालीन वीरेन्द्र सिल्ड (क्षेत्रीय शिक्षा निर्देशनालय खेलकुद) मा बनाएका थिए ।
धनवीरकै सामुन्ने आशिषले रेकर्ड बनाएका थिए । कञ्चनपुर महेन्द्रनगरका खेलाडी आशिषले आफ्नै प्रयासको अभ्यासबाट यो सफलता भेट्टाएका हुन् । उनले राष्ट्रिय कीर्तिमान बन्दा आफू अचम्मित र खुसी रहेको सुनाए ।
‘सामान्य ट्रेनिङ गर्छु, सक्दो प्रयास गरिरहेको थिएँ । कीर्तिमान नै बनाउनु होला भन्ने थिएन, त्यसैले अचम्मसँगै खुसी अनुभव भइरहेछ,’ आशिषले भने । ११ कक्षामा पढ्दै गरेका आशिषले ट्रेनिङ पाए अझै राम्रो गर्न सक्छु भन्ने मनोबल बढेको सुनाए ।
गत सातामात्र वाग्मती अन्तरप्रदेश खेलकुदमा उनले १३.६१ मिटर जम्प गर्दै स्वर्ण जितेका थिए ।
झन्डै चार दशक पुग्न लाग्दा आफ्नो कीर्तिमान तोडिँदा धनवीर चौधरी पनि खुसी देखिए । उनले आशिषलाई धाप मार्दै भने, ‘प्रतिभावान खेलाडी जन्मेको महसुस गरेको छु । तिम्रो प्रतिभा देखेर खुसी लागेको छ । अझै राम्रो गर्न सक्छौं । मैले आफूले सिकेको अनुभव सेयर गर्नेछु ।’
चौधरी पनि एथलेटिक्सको फिल्डतर्फका थुप्रै रेकर्डधारी खेलाडी हुन् । एथलेटिक्स संघको महासचिव भइसकेका उनले आशिषलाई प्रोत्साहनस्वरुप केही रकम पनि प्रदान गरे ।
आशिष दोस्रोपल्ट दशरथ रंगशाला राष्ट्रपति रनिङ सिल्ड खेल्दै थिए । यसअघि १२ औं संस्करणमा भने उनले १०० मिटर दौडेका थिए । यसपालि पनि ४ गुणा १०० मिटर रिले दौडिए । त्यसमा उनको टिम तेस्रो भयो । लङजम्पमा पनि उनी तेस्रो भए ।
ट्रिपलजम्पमा उनका प्रतिस्पर्धा वाग्मती प्रदेशका विशाल गुरुङ दोस्रा र लुम्बिनी प्रदेशका विजय थारु तेस्रा भए । सोही विधाको छात्रातर्फ लुम्बिनीकी अनिशा थारुले १०.५७ मिटर जम्प गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रेनुका ऐर दोस्रो र वाग्मतीकी अपेक्षा महतो तेस्रो भए ।
सुदूरपश्चिमकै देवकीकुमारी धामीले पनि छात्रा ३ हजार मिटर दौडमा जुनियर राष्ट्रिय कीर्तिमान बनाइन् । स्वर्ण जितेकी देवकीले १० मिनेट ५२.८२ सेकेन्डमा दौड पूरा गरिन् । उनले २०७५ सालमा राममाया बुढाले राखेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडिन् । लुम्बिनीकी गुन्जा यादव दोस्रो र कर्णालीकी कल्पना बुढा तेस्रो बने ।
छात्रतर्फ ३ हजार मिटर दौडमा कर्णालीका अजय विकले ९ मिनेट २४.२ सेकेन्डबाट स्वर्ण जितेका थिए । वाग्मतीका विश्वराम कुँवरले रजत र कर्णालीका अक्कल बडुवालले कांस्य जिते ।
कर्णाली प्रदेशको छात्रा टिमले ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमानी स्वर्ण जित्यो । भावना फरसाल, सरिता खड्का, हिमाली शाही र कृष्णा रानासम्मिलित टिमले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पूरा गरेको थियो ।
कर्णालीका छात्राले लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा रहेको ४ मिनेट २३.८ सेकेन्डलाई तोडेका थिए । यसपालि लुम्बिनी दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा रहे । सोही स्पर्धाको छात्र रिलेमा सुदूरपश्चिम पहिलो, मधेश दोस्रो र वाग्मती प्रदेश तेस्रो हुन सफल भयो ।
राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा यसपालि ५ विधामा जुनियर राष्ट्रिय कीर्तिमान स्थापित भएको छ । पहिलो दिन छात्र हाइजम्पमा गण्डकीका गणेश बिकले १.८१ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण जितेका थिए । दोस्रो दिन कर्णालीकी सरिता खड्काले ८ सय मिटर दौडमा कीर्तिमान बनाइन् । उनको कीर्तिमानी समय २ मिनेट २८.५ सेकेन्डको थियो ।
बिहीबार सटपुट छात्रमा कर्णालीका बालकुमारले स्वर्ण जिते । उनले १२.९५ मिटर सटपुट फाले । सुदूरपश्चिमका गणेश बिक दोस्रो र लुम्बिनीका सुराज थापा तेस्रो भए । छात्रामा सुदूरपश्चिमकी कृष्णा बलले १०.५७ मिटरसहित स्वर्ण जितिन् । सुदूरकै पूजा साउद रजत र वाग्मतीकी एलिना बिक कांस्य जित्न सफल भए ।
छात्र २०० मिटर दौडको स्वर्ण मधेशका आदेशकुमार यादवले जिते । उनको टाइमिङ २२.८ सेकेन्ड थियो । सुदूरपश्चिमका चन्द्र बोहरा रजत र वाग्मतीका सन्तबहादुर दराई कांस्य जित्न सफल भए । सोही विधाको छात्रातर्फ कोशीकी आरती चौधरीले २८.२ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रितु जोशीले रजत र गण्डकीकी एञ्जल अधिकारीले कांस्य जिते ।
२६ स्वर्णको प्रतिस्पर्धामा सुदूरपश्चिम र कर्णालीले समान ७ स्वर्ण जित्दै पदक तालिकामा शीर्ष दुई स्थान ओगटेका थिए । वाग्मती, लुम्बिनी, गण्डकीले समान ३ स्वर्ण जित्दा मधेश २ र कोशी प्रदेश १ स्वर्ण पदक जित्न सफल भयो ।

खेलकुद

घलेगाउँमा फ्रेन्डसिप युवा च्याम्पियन

- आश गुरुङ

(लमजुङ)
तनहुँको फ्रेन्डसिप युवा क्लबले घलेगाउँमा आयोजित सातौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । स्वर्गभूमि रंगशालामा बिहीबार फाइनलमा काठमाडौं फ्रेन्डसिपले स्वयम्भूस्थित भुइँखेल फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै उपाधि जित्यो ।
पहिलो हाफ गोलरहित खेलेकामा दोस्रो हाफको चौथो मिनेटमा फ्रेन्डसिपका विक्की चाम्लिङ राईले राम शाहीले हानेको कर्नरमा हेडमार्फत गोल गरेका थिए । २३ औं मिनेटमा भुइँखेलका रिचर्ड विल्सनले गोल गरेर खेल बराबरीमा ल्याए । खुसीमा जर्सी फुकालेका उनले दोहोरो पहेँलोसँगै रातो कार्ड खाएर मैदान छाडेका थिए । आठ खेलाडीमा सीमित भुइँखेलले रक्षात्मक खेल्यो । निर्धारित समयमा थप गोल हुन सकेन । थप १५ मिनेट अतिरिक्त सययमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।
फ्रेन्डसिपले ५ लाख ५० हजार ५ सय ५५ र भुइँखेलले ३ लाख ५० हजार ३ सय ५५ रुपैयाँ पुरस्कार र ट्रफी जितेका छन् । सर्वाधिक ७ गोल गरी फ्रेन्डसिपका अबायोमी फकुन्डे सर्वाधिक गोलकर्ता बने । भुइँखेलका अमित तामाङ सर्वोत्कृष्ट खोलाडी चुनिए । दुवैले १० हजार पाए ।

खेलकुद

भिड्दै परम्परागत प्रतिद्वन्द्वी

- विनोद पाण्डे

(काठमाडौं)
ठिक दुई वर्षपछि मस्कटमा नेपाल र यूएई आमनेसामने हुँदै छन् । यसपालि यी दुई टिम एसीसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल्दैछन् । प्रतियोगिता विजेताले अर्को वर्ष हुने एसिया कपमा प्रवेश पाउने हुनाले दुवै टोली पूर्ण शक्तिसाथ उत्रने निश्चित छ ।
२६ महिनाअघि नेपाल र यूएई मस्कटस्थित अल अमेरातमा एक आपसमा भिड्दा पनि समीकरण यस्तै थियो । ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनल खेल थियो । विजेता टोली फाइनल पुग्दै ट्वान्टी–२० विश्वकपमा छनोट हुने अवसर थियो । सन् २०२२ को फेब्रुअरी २२ मा भएको खेल नेपालको पक्षमा रहेन । नेपाल ट्वान्टी–२० विश्वकपमा पुग्नबाट वञ्चित भयो ।
यूएईले पहिलो ११ ओभरमा १०२–२ को स्कोर बनाए पनि नेपालले राम्रो पुनरागमन गरेको थियो । जसरी यूएईले सुरुआत गरेको थियो, त्यस हिसाबमा यूएईलाई १७५–७ को स्कोमा रोक्नु नेपालको सफलता थियो । तर एउटा टिमको रूपमा खेल्न नसकिरहेको नेपाल १८.४ ओभरमा १ सय ७ रनमै अलआउट भयो । नेपाललाई रोक्दै यूएई ट्वान्टी–२० विश्वकपमा पुग्न सफल भयो ।
त्यसको बदला नेपालले लिइसकेको छ । नोभेम्बरमा काठमाडौंमा सम्पन्न ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपाल सेमिफाइनलमा यूएईविरुद्ध आरामदायी ८ विकेटले जित निकाल्दै ट्वान्टी–२० विश्वकपमा पुगिसकेको छ । आउँदो जुनमा नेपालले अमेरिका गएर ट्वान्टी–२० विश्वकप खेल्दै छ । ओमानमा अहिले भइरहेको एसीसी प्रिमियर कप नेपालका लागि त्यसको राम्रो तयारी पनि हो ।
नेपाल र यूएई दुवैको हकमा एसिया कपमा छनोट हुनु त्यत्तिकै महत्त्वपूर्ण छ । गत वर्ष नेपालले काठमाडौंमै यूएईलाई फाइनलमा हराएर पहिलो पटक एसिया कपमा पुग्दै भारत र पाकिस्तानसॅग खेल्ने अवसर पाएको थियो । त्यो एकदिवसीय संरचनाको थियो । नेपाल पहिलो पटक ट्वान्टी–२० एसिया कपमा छनोट हुने दाउमा छ ।
ट्वान्टी–२० को यो यात्रा त्यति सजिलो छैन । नेपाल र यूएई दुई परम्परागत प्रतिद्वन्द्वी हुन् । हालैका वर्षमा नियमित खेल्दै आएका यी दुवैका लागि एकअर्कामाथिको जितले ठूलो महत्त्व राख्ने गर्छ । विशेष गरी एसिया कप छनोटजस्तो प्रतियोगितामा पाएको सफलताले टिमको मनोबल नै उच्च पार्ने गर्छ । पछिल्लो एक वर्षमा यूएईलाई एसिया कप छनोट र ट्वान्टी–२० विश्वकप छनोटमा पराजित गरेकाले नेपाल उच्च मनोबलका साथ खेलिरहेको देखिन्छ ।
प्रिमियर कप ट्वान्टी–२० मा नेपाल शतप्रतिशत विजयसाथ सेमिफाइनल पुगेको हो । नेपालले समूह चरणमा मलेसिया, कतार, हङकङ र साउदी अरेबियामाथि विजय हात पारेको थियो । नेपालले जस्तो प्रतिद्वन्द्वीसँग खेल्छ, त्यस्तै खेल देखाउने गरेको छ । प्रतियोगितामा सहभागी टोलीले निकै आक्रामक ब्याटिङ देखाइरहँदा नेपालले आफ्नो स्वाभाविक खेल अझै खेल्न बाँकी छ । सेमिफाइनलसम्म खासै कठिन नभएको नेपाललाई यूएईविरुद्ध आफ्नो स्वाभाविक खेल देखाउने अवसर आएको छ ।
कतारविरुद्धको दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । गुलशन झाले मलेसिया र साउदी अरेबियाविरुद्ध निर्णायक क्षणमा टिमको आवश्यकताअनुरुप ब्याटिङ गरे । दीपेन्द्र मलेसिया र कतारविरुद्ध तथा गुलशन साउदी अरेबियाविरुद्ध प्लेयर अफ द म्याच चुनिएका थिए । दीपेन्द्रको यही प्रर्दशनका कारण उनी ट्वान्टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर विश्व वरीयताको ११ औं स्थानमा उक्लिसकेका छन् ।
माथिल्लो क्रमका ब्याटर वृत्या अरविन्दविनाको यूएई विगतको तुलनामा केही कमजोर देखिएको छ । कुवेतविरुद्धको पहिलो खेलमा टोली पराजय नजिक पुगेर जोगिएको थियो । त्यसपछि बहराइनलाई हराएको यूएई तेस्रो खेलमा भने आयोजक ओमानसँग पराजित भयो । समूह चरणको अन्तिम खेलमा कम्बोडियालाई हराएर यूएईले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
बलिङमा यूएईले सन्तुलन मिलाउन सकिरहेको छैन । यूएईविरुद्ध कुवेतले १७८–८, बहराइनले १९९–८ को स्कोर बनाएको थियो । यूएई र ओमानको खेल वर्षाले प्रभावित रह्यो । यूएईले दिएको १५ ओभरमा बनाउनुपर्ने १ सय ४३ रनको लक्ष्य ओमानले १२.४ ओभरमै पूरा गरेको थियो । ओमानले अर्को सेमिफाइनलमा हङकङको सामना गर्नेछ । कम्बोडियालाई भने यूएईले ७६ रनमा अलआउट गरी त्यो लक्ष्य ५.१ ओभरमै पूरा गरेको थियो ।
यूएईको ब्याटिङविरुद्ध भने नेपाली बलरले आफ्नो उत्कृष्ट दिनुपर्ने हुन्छ । आसिफ खानले ४ खेलमा २ सय ११, अलिसान सराफुले १ सय ८९ र कप्तान मोहम्मद वासिमले १ सय ५८ रन बनाइसकेका छन् । वासिमको १८८, सराफुको १८७ र आसिफको १७१ भन्दा माथिको ब्याटिङ स्ट्राइकरेट छ । प्रतियोगितामा नेपालबाट आसिफ शेखले १ सय २६ र दीपेन्द्रले १ सय १ रन बनाएका छन् । आसिफको १२९ र दीपेन्द्रको २४६ माथिको स्ट्राइक रेट छ ।
कुशल भुर्तेल र कुशल मल्लजस्ता राम्रा स्ट्राइक रेट भएका ब्याटर यूएईविरुद्ध लयमा फर्किनु नेपालको आवश्यकता हो । भुर्तेलले ६८ र मल्लले ४४ रनमात्र बनाउन सकेका छन् । नेपाली प्रमुख बलरहरूले राम्रो गर्दै आएका छन् । अविनाश बोहराले ७, दीपेन्द्रले ६ र ललितले ५ विकेट लिएका छन् । दीपेन्द्र र ललितले प्रतिओभर ६ भन्दा केहीमाथि र अविनाशले ८ मुनिले मात्र रन खर्चेका छन् । प्रमुख दुई बलर सोमपाल कामी र करण केसी भने लयमा आउन बाँकी छ । सोमपालले ३ खेलमा कुनै विकेट लिन सकेका छैनन् । उनलाई साउदीसँग खेलाइएको थिएन । करणले पनि ३ खेलमा ३ विकेटमात्र लिन सकेका छन् ।
बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रड एस्टविकलाई ल्याएयता नेपालको बलिङमा उल्लेखनीय सुधार आएको छ । विशेष गरी नेपालको प्रमुख समस्या डेथ बलिङमा नेपालले अहिले राम्रो गर्दै आएको छ । यूएईविरुद्ध यही सुधारको प्रदर्शनलाई निरन्तरता दिनु नेपाली बलरसामु चुनौती रहनेछ ।

खेलकुद

१२ औं कान्तिपुर हाफ म्याराथन जेठमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण जेठ ५ मा हुने भएको छ । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा हरेक वर्ष हुँदै आएको म्याराथन यसपालि जेठ पहिलो साताको शनिबार हुनेछ ।
त्यसका लागि कान्तिपुर मिडिया ग्रुपले ग्लोबल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता गरेको छ । कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ म्यानेजर सागर केसी र ग्लोबल आईएमई बैंकका मार्केटिङ प्रमुख दिलीप पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
एक दशकभन्दा बढी लामो यात्रापछि कान्तिपुर हाफ म्याराथन एउटा ब्रान्ड बनेको र हरेक धावकको रोजाइमा परेको केसीले बताए । उनले कान्तिपुर हाफ म्याराथनमा सहभागी हुन कान्तिपुर कार्यालय थापाथली र ग्लोबल आईएमई बैंकको राजधानीस्थित शाखा कार्यालयहरूबाट दर्ता फारम भर्न सकिने जनाए । दर्ता फारम आइतबारदेखि खुल्ने छ । कान्तिपुर म्याराथनको आधिकारिक वेबसाइटबाट पनि फारम भर्न सकिने कान्तिपुरले जनाएको छ ।
ग्लोबल आईएमई बैंकका मार्केटिङ प्रमुख दिलीप पोखरेलले विगतमा जस्तै यस वर्ष पनि कान्तिपुर हाफ म्याराथन बृहत हुने अपेक्षा राखेको बताए । प्रतियोगिताका रेस डाइरेक्टर एवं नेपाल एथलेटिक्स संघका सदस्य आरके विष्टले यो म्याराथनले छुट्टै पहिचान बनाएकाले यसमा सबै खेलाडीको चासो रहेको सुनाए । उनका अनुसार एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने रेसमा सबै विज्ञ प्राविधिक खटाइने छ ।
गत वर्ष हाफ म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाईं विजेता बनेका थिए । ह्विलचेयरतर्फ रमेश खत्री र ऐश्वर्य कुमाल, कर्पोरेट रनतर्फ विकेश घिमिरे र सुनीता महर्जन तथा पहिलोपल्ट थपिएको कलेज रनतर्फ गर्ल्स र ब्वाइजमा क्रमशः सुसन कार्की र पुकारजंग बस्नेत विजेता बनेका थिए ।

 

खेलकुद

पुल्चोक फेरि 'सी’ को शीर्षमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा बिहीबार पुल्चोक क्लब फेरि शीर्षस्थान उक्लेको छ । पुल्चोकसँगै आरसी ३२ दुवैले सुरुआती तीन खेल जितेका छन् । दुवैसँग ९ अंक छ । पुल्चोक भने गोल अन्तरले अगाडि रहेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुल्चोकले झम्सिखेललाई ४–१ ले हरायो । यो पुल्चोकको पुनराागमन जित रह्यो । रेफ्रीले पेनाल्टी दिएको निर्णयप्रति झम्सिखेलको आपत्ति रह्यो र खेल तनावपूर्ण बन्यो । टोलीका प्रशिक्षक अनिश नेपालीलाई रातो कार्ड देखाइयो । २०७४ सालमा ‘बी’ डिभिजनबाट रेलिगेसन परेको पुल्चोकले बढुवा हुनसक्ने संकेत देखाएको छ । बिहीबारै साँगा टिमले आफ्नो दोस्रो जितका लागि रानीवनलाई १–० ले हराएर ६ अंक पुर्‍याएको छ ।

Page 12