कोसेली
आख्यानको खडेरी
- फणीन्द्र संगम
प्रकाशन संस्था बुकहिलले मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदानः नेपाल–अंग्रेज युद्धको बखान’ को परिमार्जित संस्करण–कभर हालै सार्वजनिक गर्यो । ‘२०८० को पहिलो किताब, जो ६ महिनामै दोस्रो संस्करण छापियो,’ बुकहिलले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘पहिलो संस्करणमा भएका त्रुटि सच्याई आवरणको टाइपो परिवर्तनसहित चाँडै आउँदै छ ।’
साहित्य बजारमा यो सकारात्मक खबर हो भने लेखकहरूका लागि उत्साह । लामो समय खोज पत्रकारितामा संलग्न मैनालीले इतिहास–लेखनलाई पनि सरल भाषामा बखान गरेकाले पुस्तक पाठकका आँखामा जँच्यो । यो वर्ष (२०८०) साहित्य बजारमा ‘मुकाम रणमैदान’ सहित केही गैरआख्यानको दबदबा रह्यो । जबकि आख्यानमा खडेरी छायो । कविताका पाठक उति उत्साहित हुन सकेनन् । अघिल्लो वर्ष नवराज केसीको ‘शून्यको मूल्य’, सुविन भट्टराईको ‘इजोरिया’, उज्ज्वल प्रसाईंको ‘एक बागी’ जस्ता पुस्तक निरन्तर चर्चामा थिए । बिडम्वना, यो वर्षैभरि त्यस्तो अवस्था देखिएन । स्थापित र प्रतीक्षित लेखक ‘ओथारो’मै बसे । बुद्धिसागरले ‘एक्लो’ जन्माएको ६ महिनापछि ‘उसले दिएको उमेर’ त कोरले, तर यसले पाठकको स्याहार पाउन सकेन । विशेषगरी कवितामा नवोदित लेखकको आगमन सुखद भए पनि ‘नयाँलाई नपत्याउने’ पाठकीय मनोविज्ञानले उनीहरू ओझेलमै रहे ।
गैरआख्यानमा भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्र ः एकतन्त्रदेखि गणतन्त्रसम्म’ ले पनि राम्रै पाठक कमायो । उनले नेपालको कूटनीति, शासन–प्रशासन, वैदेशिक सम्बन्धलगायतका विषय समेटेका छन् । उमाकान्त पौडेलको ‘बुद्धकालीन समाज’ पनि पाठकको रोजाइमा पर्यो । बुद्धकालीन समाजका विविध पक्षको उद्घाटनका साथै त्रिपिटकका आधारमा प्रामाणिक जानकारी दिने उनको मिहिनेतलाई पाठकले रुचाए ।
निरोज कट्टेलको ‘२०२८ ः झापा विद्रोहको अन्तर्कथा’ ऐतिहासिक राजनीतिक घटनाको सांगोपांग दस्तावेजका रूपमा आयो । ‘झापा विद्रोह’ सुन्दै हुर्किएका पुस्ताका लागि यो पुस्तक इतिहासको आँखीझ्याल हो । अमृता लम्सालले ‘मिडिया महिला र म’ पुस्तक ल्याइन् । खासगरी २०४६ सालयताका अनुभव र महिला अधिकारका सवाल पुस्तकले उठाएको विषय हो ।
विशेषगरी शास्त्रीय संगीतको इतिहाससहित ध्रुवेशचन्द्र रेग्मी ‘नेपाली संगीत दरबार’ लिएर आए । नेपालमा शक्ति–राष्ट्रको बढ्दो सक्रियतामाथि पत्रकार बाबुराम विश्वकर्माले लेखेको ‘भूराजनीतिको भार’ प्रति पनि पाठकको चासो देखियो । अर्का पत्रकार नेत्र पन्थीले ‘लेफ्ट–राइट ः सत्ता र शक्तिको ‘अ’ राजनीति’ ले बौद्धिक वृत्तमा प्रशंसा कमायो ।
नेपाली भाषामा अरुण गुप्तोले पहिलो पुस्तक सार्वजनिक गरे ‘संस्कृति चिन्तन’ । विषयवस्तुका हिसाबले गहन भए पनि अपेक्षित चर्चा पाउन सकेन । जीवजन्तुका आनिबानीबारे अध्ययन गरिबस्ने ददि सापकोटाले ‘जीवगाथा’ लिएर आए भने अर्की पत्रकार दीपा दाहालले कोभिड महामारीको अवस्थालाई ‘कोभिड ः नसोचेको–नभोगेको संकट’ शीर्षकमा पुस्तकाकार दिइन् ।
कृष्णविक्रम नेम्बाङको ‘लिम्बू इतिहास ः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ पनि यसै वर्ष आयो । अरुण–कोशीपूर्व बस्ने याक्थुङ/लिम्बू जाति र लिम्बूवानको इतिहाससँगै पुस्तकमा लिम्बू जातिको तिब्बती, सेन, भुटान, सिक्किम र रायबीचको सम्बन्ध केलाइएको छ । ‘काली–कर्णालीको लोकसाहित्य’ माथिको गहकिलो अनुसन्धानात्मक कृतिसहित यज्ञराज उपाध्याय आए । कविता शेरचनको ‘भूपी ः अ डटर्स मेमोयर’, विवेक शाहको ‘दरबारबाट देखेको नेपाल’, शंकर तिवारीको सम्पादनमा ‘बीपीको जेल डायरी’, जीवन क्षेत्रीको ‘नुन–तेल ः विगततिर पदयात्रा’, कटक मल्लको ‘न्याय–अन्याय’, नरेन्द्रजंग पिटरको ‘बकपत्र’, पुरुषोत्तम शमशेर जबराको ‘जंगबहादुर र राणाकालीन दर्पण’, खगेन्द्र संग्रौलाको ‘आफू आफैतिर फर्केर’ जस्ता गैरआख्यान यसै वर्ष सार्वजनिक भए ।
बिक्रीका हिसाबले ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ चर्चामा आयो । पत्रकारद्वय अर्जुन उप्रेती र जसकुमार राईले पञ्चायती शासकद्वारा इलाममा मारिएका रत्नकुमार वान्तवाको संघर्ष र बलिदानको वृत्तान्त ‘नेपालमा सुरुङ युद्ध’ ल्याए । यो राजनीतिक–इतिहासको खोजमूलक पुस्तक हो ।
निबन्धमा प्रकाश थाम्सुहाङको ‘शब्दथुम’ ले राम्रै बौद्धिक विमर्श गर्यो । नारायण ढकालको ‘अन्तिम पात’, ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’ र भवानी खतिवडाको ‘आकाश ओढेको डोल्पो’ पाठकले रुचाए । नियात्रा समाजले ‘नेपाली प्रतिनिधि नियात्रा’ जस्तो महत्त्वपूर्ण पुस्तक यसै वर्ष सार्वजनिक गर्यो । मोमिलाको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ वर्षान्ततिर आएकाले पाठक र बजारमा यसको चर्चा हुनै बाँकी छ ।
लेखक तथा समीक्षक हरि अधिकारी यो वर्ष कुनै पनि विधामा उल्लेख्य कृति आउन नसकेको बताउँछन् । तर, लेखनमा विषय विविधता राम्रै गरी आएको उनको भनाइ छ । ‘दुईतीन वर्षयता नछोइएका विषय, फरक चरित्र र कथानक आउन थालेका छन्, आञ्चालिकताको फरक स्वाद छ,’ उनले भने, ‘पश्चिमका थारूका विषय हुन् वा पूर्वमा सन्थालका जीवन लेख्ने क्रम सुरु भएको छ । भर्जिन इलाकामा लेखकको प्रवेश प्रशंसनीय छ तर गुणस्तरका हिसाबले त्यस्ता लेखन माझिन सकेका छैनन् ।’ कतिपय पुस्तकले विषय उठान ठिकै गरे पनि शैलीगत संरचना र भाषामा पकड गुमाउँदा ती कमजोर बन्न पुगेको उनको मूल्यांकन छ ।
इन्डिगो इन्कका प्रमुख विष्णुकुमार पौडेल पाठकले समाज–इतिहासका विषय बढी पढ्न चाहेको बताउँछन् । ‘पहिलेजस्तो उपन्यासको लहर देखिएन, किनकि पाठक मनोरन्जनका लागि मात्र नभई पढेर केही गुदी लिन सकियोस् भन्ने चेतनासहित आएका छन्,’ उनले भने ।
आख्यानको ऐँठन
यस वर्ष आख्यानले पाठकको मन जित्न सकेनन् । कुमार नगरकोटीले वर्ष ८० मा दुई पुस्तक–कोसेली दिए । मंसिरमा संस्मरणात्मक कृति ‘जोगियाना’ लिएर आएका उनी चार महिनापछि ग्राफिक नोभल ‘जे थर्टी थ्री’ लिएर आए । फिक्सनका ‘डिजाइनर’ नगरकोटीको यो उपन्यास नेपाली साहित्यमा पहिलो प्रयोग पनि हो ।
पुस्तक वितरकहरूका अनुसार, प्रोल्लास सिन्धुलीयको उपन्यास ‘भग्न भैरव’ (भैरव अर्यालको जीवनीमा आधारित) पाठकको छनोटमा पर्यो । साहित्यमा कमै लेख्ने गरिएको लैंगिकता र यौनिकताको विषयमा रमेश सायनले ‘अन्तर’ उपन्यास ल्याए । तर, अपेक्षित चर्चा पाउन सकेन । राजनीतिक विश्लेषक विष्णु सापकोटा उपन्यासकार अवतारमा उदाए, ‘अडिएका पाइला’ लिएर । ‘पीपला’ मा पत्रकार विमल नेपालले माओवादी ‘जनयुद्ध’ को विषय उठान गरे । वर्षको अन्तिमतिर राजव ‘क्रूर पृष्ठमा जो थिए’ लिएर आइपुगे भने चिरञ्जीवी वाग्ले ‘बहादुर शाह’ उपन्यासमा देखिए । राजवले उपन्यासमा २०२८ सालको बारा, पर्सा, रौतहटमा हिन्दु–मुस्लिम समुदायबीच भएको साम्प्रदायिक दंगाको विषय लेखेका छन् ।
राणाकालीन पात्र गोपी च्यामेको जीवनीमाथि विश्व कुइँकेलले ‘गोपीचा’ उपन्यास ल्याए भने कृष्ण गौतम दार्शनिक उपन्यास ‘अद्वैत’का साथ देखापरे । नवलेखक सागर खड्काको उपन्यास ‘राइपाली भन्ज्याङ’, जीवन जीवन्तको ‘चरैवेति’, गोविन्द कुसुमको ‘भृकुटी’ यसै वर्ष आए । विषयवस्तु र मुद्दाका हिसाबले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’ पाठकको रोजाइमा पर्यो । तामाङ समुदायको सांस्कृतिक पहिचान उनका कथाले बोकेका छन् भने खेम बतासको ‘बुढीपोल्ली’ ले सुदूरपश्चिमको समाज–सस्कृंतिलाई उजागर गरेको छ । मनीषा गौचनको ‘प्रतिवहन’ र प्रवासको परिवेश, समाज–मनोविज्ञानका कथा संकलित कृष्ण कुसुमको ‘पार्श्वधुन’ पाठकको औसत रोजाइमा परे ।
यो वर्ष आख्यानको उपस्थिति कमजोर देखिए पनि इतिहास, संस्मरण र जीवनाख्यानले सुखद संकेत गरेको लेखक तथा समीक्षक महेश पौड्यालको मूल्यांकन छ । ‘पाठकको स्वाद फेरिएकाले प्रकाशकले यतातिर अब सोच्नुपर्छ,’ उनले भने, ‘आख्यानमा पहिलेजस्तो बाढी आएन । केही नयाँ कविले राम्रै उपस्थिति देखाए । सामान्य मान्छेको जीवन संघर्ष, उचारचढाव र सफलताको आफ्नै कथा बेच्न देश दौडाहामा लागेकाले महावीर पुनले भने धेरैको ध्यानाकर्षण गराए ।’ हिमाल आरोहीका जीवनाख्यानमा नयाँ काम भएको पौड्याल बताउँछन् । ‘पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाको आत्मकथा ‘हिम्बु’, पर्यटन प्रवर्द्धक मिङ्मा शेर्पाको ‘सगरमाथाको शेर्पा म’ जस्ता पुस्तकले हिमालको कथा विश्वसनीय तरिकाले भनेका छन्,’ उनले भने ।
चितवनस्थित सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाको अनुभवमा पाठकले आख्यानमा बलियो कन्टेन्ट खोज्न थालेका छन् । ‘अलिअलि मायाप्रेमका कथा मिसाएर लेखे बिक्छ भन्ने मानसिकता अब लेखकले हटाउनुपर्छ, किनकि पाठक नयाँ विषयको खोजीमा छन्,’ उनी भन्छन्, ‘आख्यानमा पनि सामाजिक मुद्दा वा कसैको जीवन लेखियो भने त्यसले राम्रै बजार पाउँछ । योगमाया जस्ता आख्यान पाठकले रुचाउने रहेछन् ।’ अघिल्लो वर्षभन्दा यसपालि पुस्तक बजार केही चलायमान रहेको उनको अनुभव छ । ‘मुकाम रणमैदान, राष्ट्र–पराष्ट्र, बहादुर शाहजस्ता पुस्तकको बिक्री ठिकै रह्यो,’ उनले भने ।
सालाखाला कविता
कवितामा भने राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ यसपालि बढी चर्चा पाउने पुस्तकका रूपमा देखापर्यो । वर्षान्तमा कवि विप्लव प्रतीकको हाइकु–किताब ‘शाडेनफ्रोएडा’ छापिएर आयो । स्थानीय काव्यिक सुगन्धका हिसाबले गगन योक्पाङ्देनको ‘केवाफुङ्को गीत’ लाई कवि–पाठकले रुचाए । नयाँ पुस्ताका सुमिना (बागी स्त्रीको आत्मकथा), देवव्रत (अस्वत्थामाको निधारबाट बागमती बग्छ), गीलु रातोस (सिलीदुङ), निर्भीकजंग रायमाझी (त्यसरी त कहिल्यै सोचिएन), मिथोच
(आगोको पिदार) सम्भावनासहित काव्यिक दुनियाँमा देखिए ।
चर्चित कविता ‘साला पहाडमें क्या है’ शीर्षककै संग्रहसहित आएका मीनबहादुर विष्टको सार्थक उपस्थिति रह्यो । न्याय, समानता, वर्ग–वर्णभेदविरुद्धका कवितासहित अभय श्रेष्ठ ‘लहना र तीर’ लिएर आइपुगे । भूपिनले छानिएका कवितासहित ‘भूपिनका कविता’ सार्वजनिक गरे । प्रकाश रम्घालीको ‘साँझको संगत’, विमल वैद्यको ‘युगको तटमा उभिएर’, रेशम विरहीको ‘प्रतिरोधको लय’, एलबी क्षेत्रीको ‘को हो त्यो मान्छे ?’, छविरमण सिलवालको ‘डोरम्याट’ यसै वर्ष प्रकाशनमा आए । कवि एवं हेटौंडास्थित किताबघरका सञ्चालक छवि अनित्य वर्ष ८० मा आख्यान बजारबाटै बेपत्ता भएको टिप्पणी गर्छन् । ‘गैरआख्यानमा बढी रुचि देखियो, आख्यानले पाठकको मन राख्न सकेन,’ उनी भन्छन्, ‘बिस्तारै आत्मकथाहरू पनि आत्मा कम र कथा ज्यादा हुन थाले । मुकाम रणमैदान र राष्ट्र–परराष्ट्रले थोरै इज्जत धानेका छन् ।’ कवितामा भने राम्रै पुस्तक आएको उनको मूल्यांकन छ । ‘लहना र तीर, बागी स्त्रीको आत्मकथा, त्यसरी त कहिल्यै सोचिएन, साला पहाडमें क्या है लगायत पुस्तकको बिक्रीले थोरै आशा जगाएको छ,’ उनले भने ।
बेला पब्लिकेसन्सकी अध्यक्ष बन्दना ढकाल समाजमा जुध्नुपर्ने एकखालको समस्या भए पनि लेखन धार निराशा र पलायनवादी भइदिँदा साहित्य सतही हुने गरेको बताउँछिन् । भन्छिन्, ‘अहिले देखाउनेभन्दा छोप्ने प्रवृत्ति बढी छ । ३०–४० वर्षको कालखण्डमा मध्यममर्गीय साहित्य धेरै लेखिए । बढी समस्यामा गुज्रिएका सहरी मजदुर वा निम्नवर्गका आख्यान लेखिएन ।’ आख्यानले नयाँ परिवेश निर्माण गर्न नसकैकै कारण पाठकको दूरी टाढिँदै गएको उनको भनाइ छ । हामीकहाँ अनुवादका काम कमै हुने गरेका छन् । यद्यपि थोरै अनुवाद चर्चामा रहे । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको ‘सत्यको जगमा उभिएर’ (दि ट्रुथ वी होल्डको अनुवाद, विप्लव प्रतीक), प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’
(ल्यान्ड ह्वेर आई फ्लीको अनुवाद, विभु लुइँटेल) विश्वका चर्चित लेखक–विचारकको सामयिक आलेख संग्रह ‘२१औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ (रोहेज खतिवडा) जस्ता महत्त्वपूर्ण पुस्तक आए ।
नेपाली साहित्यमाथिका गम्भीर समीक्षा–समालोचना यस वर्ष झनै भुत्ते देखियो । यद्यपि, भेषबहादुर थापाको ‘राष्ट्र–परराष्ट्र’ माथि पत्रकार जेबी पुन मगरले लामो समालोचना लेखे ‘नेपालखबर’ मा । ‘निरंकुश राजा महेन्द्रको मुहारमा भेषबहादुरले पोतेको ‘प्रजातान्त्रिक’ रङ’ शीर्षकमा उनले तीन दर्जनभन्दा बढी सन्दर्भ सामग्रीसहित मिहिन आलोचना गरेका छन् । यस्तै, मोहन मैनालीको ‘मुकाम रणमैदान’ माथि इतिहासकार महेशराज पन्तले ‘मुकाम रणमैदान नियाल्दा’ शीर्षकमा ‘हिमालखबर’ मा टिप्पणी लेखे । लगत्तै मैनालीले प्रत्युत्तर शैलीमा हिमालमै लेखे ‘मुकाम रणमैदान नियालेको समीक्षा नियाल्दा’ । उनले यसमा पन्तले खुट्याएका कमजोरीमाथि आफ्ना तथ्य–तर्क पेस गरेका छन् । बेला पब्लिकेसन्सकी अध्यक्ष ढकाल अहिलेका लेखकमा विचारधारात्मक संघर्षको अभाव देख्छिन् । ‘पहिले लेखक निर्माण गर्ने समूह नै सक्रिय हुन्थे । मार्क्सवादी शिविर होस् या गैरमार्क्सवादी, उनीहरू समूहमा विमर्श गर्थे । राजनीति नै विकृत बन्दै गएपछि त्यस्ता शिविर भत्किए,’ उनी भन्छिन्, ‘राजनीति नै निराशाजनक भएपछि त्यसको प्रभाव साहित्यमा पर्ने हो, जुन अहिलेको देखिएकै छ ।’
यद्यपि, आख्यान र कवितामा नयाँ पुस्ताको जबर्जस्त प्रवेश भने देखिन्छ । आञ्चालिक सौन्दर्यसहित सांस्कृतिक पहिचानका मुद्दा र स्थानीयता मुल स्वर बनिरहेको छ । राजनीतिक बेथिति, बेरोजगारी, विदेशिनुको पीडाका साथै पर्यावरणीय चिन्तनमा पनि कलम चलेको छ । तर, हतारको लेखन र प्रसिद्धिको मोहले नवोदित लेखकप्रति ठूलो आशा नरहेको समीक्षक अधिकारी बताउँछन् । ‘साहित्य गम्भीर साधना हो, भाषाशिल्पमा काम गर्नुपर्छ, लगातार लेख्नुपर्छ र अध्ययन जरुरी छ भन्नेमा लेखकको चासै भएन,’ उनले भने, ‘कतिपय पहिचानवादी र नारीवादी लेखकहरू बढी मनोगत भइदिँदा, बढी क्रान्तिकारी बन्न खोज्दा साहित्यको मूल मर्म नै छोपिने गरेको पनि देखिन्छ ।’
कोसेली
एकान्त आलाप
- जुनू राना
यो मन भन्छ—
अनिश्चितता बोकेको
एकबारको यो जिन्दगी बााच्न
सहरको कुनै सुख चाहिादैन,
चाहिादैन कुनै विलासी ठाउा
बरु, आफ्नै थातथलो–
जहाा तिम्रो न्यायो साथबाहेक
घामपानी छल्ने सानो ढुंगेघर होस्
बर्खामा घरको छानोबाट झर्ने बलोसी
पिाढीमा बसेर मस्तसाग हेर्न पाइयोस्
बलेनीमा सन्तुष्टिका बाछिटाहरु
गौथलीझौ नाचेको हेर्न पाइयोस् ।
सुर्केबारीमा फुल्दै गरेका
फर्सी र घिराौला झालहरु हेर्दै
गोलभोडा र खुर्सानी टिपेर
मायाको चट्नी पिस्न पाइयोस्
र, मायाको मिठो चटनीसाग
जिन्दगीका गाासहरु निल्न पाइयोस्
बस्, जिन्दगी सार्थक बन्छ
हो, मेरो मन यस्तै सोच्छ....Û
मेरो मनमा—
असारका बटिला
तिहारमा पाक्ने छेको पारेर
हुर्किएका सुन्तलाले
एकछेको वसन्त पुनः बााच्ने
अभिलाषा दिएर जान्छन्,
साउनको झरीमा
खेतहरुले गर्भधारण गरेजस्तो
अलौकिक अनुभूति हुन्छ
र, ती गर्भिणी खेत हेर्दै
हाम्रो वंशरुपी प्रेमको चिनो उमार्ने
तीव्र लालसा जागेर आउाछ
सत्य मायाको सीमा नाघेर जान्छ ।
यसरी नै मेरो परिकल्पनामा
सहरको सुख–सयल कतै तैरिादैन
किनभने,
सहर त त्यो भीडको पहरा हो
जहााबाट जिन्दगीका सपनाहरु
दुर्घटनामा परिरहन्छन्
जहाा भीडको बीच पनि मान्छेले
एक्लोपनको क्यान्सरसाग लड्नुपर्छ
जसको उपचार गर्नुभन्दा
त्यो भीडबाट भाग्नु नै बुद्धिमानी हो
त्यसैले मेरो मन
भीडबाट भागिरहेको छ ।
कोसेली
लेखक चम्काउने सम्पादकको कथा
- केन सुवेदी
लेखक रामचन्द्र गुहाको नयाँ किताब ‘द कुकिङ अफ बुक्स’ ले लेखक–सम्पादकबीचको घनिष्ट सम्बन्ध वर्णन गर्छ, जसमा उनी आफैं मुख्य पात्र छन् र छन् अर्का प्रखर सम्पादक– रुकुन अड्भानी । सोझै भन्नुपर्दा यो साहित्यिक संस्मरण हुन त गुहाले लेखेका हुन्, तर यसका हिरो चार दशक सँगै काम गरेर उनलाई लेखक बनाएका सम्पादक रुकुन अड्भानी हुन् । किताबभरि रुकुनसँगका सम्बन्धहरूको पुनः अवलोकन भेटिन्छ ।
किताब सात अंशमा विभाजन गरेका गुहाले समयकाललाई वर्णानुक्रम गरेर सुरुको अंशमा रुकुनसँगको पहिलो भेट स्मृति उतारेका छन् । राम्रा क्रिकेट खेलाडी हुन्छन् गुहा र सायद त्यसकै बलमा राम्रो मानिएको सेन्ट स्टेफेन्स कलेज, दिल्लीमा स्नातक पढेका हुन्छन् । उनको स्कुल शिक्षा डुन स्कुल देहरादूनमा भएको, अभिभावक लामो समय सरकारी सेवामा रहेको अनि मुख्य कुरा उनी राम्रो क्रिकेट खेलाडी भएकाले पनि सेन्ट स्टेफेन्स पुगेका हुन सक्छन् । यो किताब भिन्न प्रकारको संस्मरण हो किनकि यो संस्मरणले लेखन, प्रकाशन, सम्पादन, आवरण, डिजाइन, किताबको आइडियादेखि बजारसम्म लैजाने प्रक्रिया र त्यसवरिपरिका घटना मात्रै समेटेको छ ।
गुहाले भनेका छन्– धेरैजसो सम्पादक अनि प्रकाशकहरू लेखकको प्रशंसा गर्छन् र लेखककै कारण आफ्नो काम चिनिएको बताउँछन् । तर, गुहाका लागि उनीभित्रका लेखक चिन्ने क्षमता रुकुनको भएको, उनकै प्रतिक्रिया, बल, प्रोत्साहन र मार्गदर्शनले कैयौं किताब लेख्न सकेकाले उनले यो किताब प्रिय सम्पादक रुकुनलाई समर्पण गरेका हुन् । प्रायः संस्मरणमा तीता, अप्ठ्यारा, लाजलाग्दा, नमिठा, जटिल कुरा त्यति धेरै राखिँदैनन् र ती भरिएका हुन्छन् स्वयंको प्रशंसा र गाथा, उपलब्धि र प्राप्तिका सूचीले । गुहा सफल भएका छन्, कारण हो– वास्तविकताको आत्मसात्, कमजोरीको स्वीकारोक्ति, अरू समकालीन साथीको प्रतिक्रियालाई सकारात्मक हिसाबले लिने बानी र भिन्न विचार ग्रहण गर्न सक्ने क्षमताले ।
गुहा रुकुन अड्भानीको ब्याचभन्दा दुई ब्याच जुनियर हुन्छन् । कक्षामा खासै सहभागी नहुने उनी क्रिकेट खेल्न खप्पिस हुन्छन् र उनको परिचय बनेको हुन्छ, क्रिकेटरका रूपमा । गुहाकै शब्दमा भन्नुपर्दा अड्भानी एकदमै अध्यनशील थिए, अंग्रेजी विषयमा त्यो वर्षसम्मकै उच्च प्राप्तांक हासिल गरेर कलेजभरि कहलिएका । अंग्रेजी त्यस्तो विषय थियो, जसका प्राध्यापक अति नै कडा र अंक दिन लोभी थिए, त्यस्तो विषयमा अड्भानीले त्यति लामो इतिहास बोकेको कलेजमा सर्वाधिक अंक ल्याउनु मामुली थिएन । पहिलो भेटमा अड्भानीले गुहालाई हेयको दृष्टिले हेरेको हुनुपर्छ भनेर गुहाले लेखेका छन्– कारण हुन सक्छ उनले लगाएको भद्दा क्रिकेटरको पोसाक र क्रिकेटर भएकाले अध्ययनशील नहोला भन्ने आकलन । गुहा स्वीकार गर्छन् कि अड्भानीको आकलन सही थियो– उनी पढाइ कम गर्थे र क्रिकेट बढी खेल्थे र त्यसमै समय व्यतित गर्थे । गुहाले किताबको पछिल्लो अंशमा स्वीकार गरेका छन्, उनीहरूको कलेजको साथीको बिहेमा यदि उनको भेट रुकुन अड्भानीसँग हुँदैनथ्यो भने उनी सायद लेखक बन्ने थिएनन् र यदि बने पनि यो स्तरको पटक्कै बन्ने थिएनन् । यसले अड्भानीप्रति गुहाको सम्मान र सद्भाव प्रस्ट हुन्छ ।
कलकत्ता आई.आई.एममा समाजशास्त्रमा विद्यावारिधि गर्दै गरेका गुहा वातावरण इतिहासप्रति रुचि राख्थे । उनका बुवा वन अनुसन्धान कार्यालयको अधिकारी भएकाले रिसर्च गर्न पर्याप्त सामग्रीहरूको पहुँच थियो । साथै चिप्को आन्दोलनको प्रसिद्धिको कारणले उनको शोध वनमा हुने सामाजिक द्वन्द्वमा आधारित थियो । उनको अक्सफोर्ड युनिभर्सिटी प्रेसमा सम्पादक रहेका रुकुन अड्भानीसँगको सम्बन्ध अझ नजिक हुन्छ जब अड्भानीले गुहाको विद्यावारिधिको शोध उनको प्रेसबाट प्रकाशित गर्ने जमर्को गर्छन् र त्यही नै गुहाका लागि राम्रो लेखक बन्ने टर्निङ पोइन्ट सावित हुन्छ । अड्भानीले उनको शोध त्यत्तिकै प्रकाशित भने गर्दैनन्, गहन विश्लेषण र प्रतिक्रिया दिन्छन्, सुधार र संशोधन गर्न लगाउँछन्, मानौं त्यो उनको आफ्नै किताब हो । गुहा अड्भानीको विद्वता देखेर निकै प्रभावित हुन्छन् र जे–जे गर्न भन्छन् त्यो–त्यो गर्दै जान्छन्, सुरुको किताबमा मात्रै नभएर अन्य सबैजसो किताबमा ।
पहिलो किताब नछापीकनै गुहा एकपछि अर्को किताबको प्रस्ताव लिएर अड्भानीसँग कुरा गर्छन् । दोस्रो किताब गुहाले क्रिकेटबारे लेख्छन्, जसप्रति अड्भानीको पूर्ण सहायता रह्यो– कारण हुन सक्छ गुहाको क्रिकेटप्रतिको लगाब । ‘विकेट्स इन द वेस्ट’ नाम दिइएको उक्त किताब ओयूपीजस्तो प्रकाशन गृहले छाप्दा पनि उनी असफल रहे, तर त्यही किताबले क्रिकेट लेखकका रूपमा गुहाले पहिचान थपे । गुहा स्वीकार गर्छन् कि क्रिकेटको किताबको सन्दर्भमा अड्भानीको आकलन फेल खायो । त्यसैगरी समाजशास्त्री भेरियर एल्विनको आत्मकथा लेख्ने क्रममा अड्भानीले गुहालाई धेरै परिमार्जन गर्न लगाए । यतिसम्म कि फेरि सुरुदेखि नै फरक शैलीमा लेख्न लगाए र आत्मकथा भएको कारण समाजशास्त्रीय तरिकाले भन्दा पनि भिन्न तरिकाले लेख्न लगाए । फेरि पूर्ण ड्राफ्ट अड्भानीलाई पठाए र हरियो मसी अनगिन्ती ठाउँमा कोरिएको ड्राफ्ट फिर्ता पाए, जसमा अन्तिम टिप्पणी थियो, ‘एल्विन एक विद्वान् र बुद्धिजीवीका रूपमा गरिएको अध्ययन ठीक छ तर व्यक्तिगत एल्विन कहाँ छ ?’ एल्विनको आमा, बहिनी र साथीहरूसँगको पत्राचार अध्याय थपेर किताब थप सच्याएपछि फेरि अड्भानीले प्रतिक्रिया दिए, ‘छोरा, भाइ, साथी, बुबा र पतिका रूपमा एल्विनको चरित्र ठीक छ, तर लेखक र विवादमा संलग्न हुन रुचाउने एल्विनको चित्रण कहाँ छ ?’
गुहाले फेरि सुरुदेखि सच्याउँदै लेखे । र, एल्विनको आत्मकथा सम्पादक अड्भानीलाई बुझाए, फेरि केही शैलीगत प्रतिक्रिया दिँदै किताबलाई अझ पठनीय कसरी बनाउन सकिन्छ भनेर अन्तिम सुधार गर्न भने । सोही अनुरूप गुहा काम गर्छन् र सन् १९९९ मा ‘स्याभेजिङ द सिभिलाइज्ड ः भेरियर एल्विन, हिज ट्राइबल्स एन्ड इन्डिया’ शीर्षकमा पुस्तक ओयूपीले प्रकाशित गर्छ । करिब २० वर्ष ओयूपीमा काम गरेपछि रुकुन अड्भानीले प्रकाशन गृह छोड्नुपर्ने अवस्था आउँछ, जुन गुहाको भाषामा भन्नुपर्दा औपनिवेशिक विभेदले निम्त्याएको थियो । अड्भानीकी श्रीमती अनुराधा रोय पनि ओयूपीमा सँगै काम गथिन्, डिजाइनको । अचानक ओयूपी इन्डियाले श्रीमान् श्रीमती एकै संस्थाको एकै विभागमा काम गर्न नपाउने निर्णय ल्याउँछ, जुन अड्भानीलाई असहज हुन्छ किनकि मुख्य कार्यालय बेलायतमा श्रीमान् श्रीमती एकै विभागमा काम गरिरहेकै थिए । अन्य मनमुटाव पनि रहेको त्यस्तो असहज परिस्थितिले अड्भानी ओयूपी छोडेर आफ्नै प्रकाशन गृह पर्मानेन्ट ब्ल्याक सुरु गर्छन्– दुर्गम पहाडी गाउँ रानीखेतमा ।
आफ्नो प्रकाशन गृहबाट किताब छाप्नैपर्छ भनेर कहिले पनि दबाब दिएनन् अड्भानीले गुहालाई । कहिले पेन्गुइनबाट छाप्दा राम्रो हुन्छ भन्ने प्रतिक्रिया दिन्थे । जहाँबाट प्रकाशन गरे पनि गुहाका किताबका सम्पादक अड्भानी नै हुन्थे किनकि गुहाले सबैभन्दा विश्वास गर्न सक्ने पात्र थिए उनी । सेन्ट स्टेफेन्स कलेजका प्राध्यापक अड्भानीलाई एकान्तप्रेमी स्कोलर भनेर बुझ्थे, जुन गुहालाई पछि ठीक भनेका रहेछन् भन्ने लागेको थियो । २०१९ मा रिसर्चकै क्रममा उनी रानीखेत पुग्छन् र अड्भानीलाई आफू नजिक आएको बताउँछन् । अड्भानीले स्वागत गर्छन् र सँगै उनीहरू खाना खाँदै लामो कुरा गर्छन्– इतिहास, साहित्य र लेखनका ।
अड्भानी आफू गुहासँग थप केही समय बिताउन चाहेको बताउँछन्, तर गुहा समय नपुग्ने बताउँदै त्यहाँबाट बिदा माग्छन् र पछि ‘अड्भानीलाई उनकै प्रकृतिमा बस्न दिएकोमा ठीकै गरेँ’ सोच्छन् ।
शशि थरुर, अमिताभ घोष, राम गुहाजस्ता पात्रमाथि बुझ्न किताब सहयोगी छ । तर, रामचन्द्र गुहा केवल आफूले पढेको कलेज सेन्ट स्टेफेन्सबाट उत्तीर्ण लेखकहरूको मात्रै बढी चर्चा गर्छन्, जुन संकुचित लाग्छ । किनकि भारतमा अन्य थुप्रै संस्थामा पढेर पनि गुणस्तरिय लेख्ने बुद्धिजीवी प्रशस्तै छन् ।