मुख्य पृष्ठ
लगानी सम्मेलनमा ५२ मुलुकका ६३४ लगानीकर्ता आउँदै
- सीमा तामाङ
(काठमाडौं)
आगामी साता काठमाडौंमा हुने तेस्रो लगानी सम्मेलनमा ५२ मुलुकका ६३४ जना लगानीकर्ता तथा सरोकारवाला विदेशी अधिकारी सहभागी हुने भएका छन् । सम्मेलनमा ३८५ नेपाली व्यवसायी तथा लगानीकर्ता पनि सहभागी हुने लगानी बोर्डले जनाएको छ ।
मंगलबारसम्म स्वदेशी तथा विदेशी १ हजार ९ सयभन्दा बढीलाई लगानी निम्ता पठाइएकामा नेपालीसहित १ हजार १९ जना सहभागी हुने निश्चित भएको हो । डाबर नेपाल, कोकाकोला, युनिलिभर, एसजेभीएन, कुवेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टका उच्च तहका प्रतिनिधि लगानी सम्मेलनमा सहभागी हुने बोर्डको भनाइ छ । चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) प्रमुख लुओ झाओहुई र सार्क चेम्बर अफ कमर्सका प्रमुख जसिम उद्दिन लगानी सम्मेलनमा सहभागी हुनेछन् ।
एसिएन डेभलपमेन्ट बैंक (एडीबी), विश्व बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को समेत उच्च तहका प्रतिनिधि पनि सम्मेलनमा उपस्थित हुनेछन् । चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड बेइजिङ (सीसीपीआईटी) का प्रतिनिधि, सबै देशका राजदूत र नेपाललाई हेर्ने भारतमा रहेका विदेशी राजदूतसमेत सहभागी हुने निश्चित भइसकेको बोर्डको भनाइ छ ।
लगानी सम्मेलनमा सहभागी हुन निम्ता पठाइएका देशहरूबाट ‘कन्फर्मेसन’ आउने क्रम जारी रहेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । सहभागी हुनेमा सबैभन्दा धेरै स्वदेशी व्यवसायी ३ सय ८५ जना छन् । त्यसपछि बढी चीनका २ सय ६५ र भारतका १ सय ४३ जना लगानीकर्ता तथा प्रतिनिधि आउने छन् ।
यस्तै अमेरिकाबाट ३३, जापानबाट २८, बेलायतबाट १४, बंगलादेश १३, संयुक्त अरब इरिमेट्सबाट १३ जना, जर्मनीबाट १० जना आउने तय छ । कोरिया, अस्ट्रेलिया र मलेसियाबाट ९/९ जना सहभागी हुनेछन् । पाकिस्तानबाट ८ र सिंगापुरबाट ६ जना आउनेछन् । कतार र घानाबाट ५/५ जना हुनेछन् । साउदी अरेबिया, फ्रान्स, बहराइनबाट ४/४ जना आउनेछन् ।
बोर्डका अनुसार स्विट्जरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलंका, कोलम्बियाबाट ३/३ जना सहभागी हुनेछन् । फिलिपिन्स, कुवेत, क्यानडा, मोरिसस, बेल्जियम र बेलारुसबाट २/२ जना सहभागी हुने बोर्डले जनाएको छ । इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड्स, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, अफ्रिका, रोमानिया, मेक्सिको, साइप्रस, आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरोक्को, टर्की, हङकङ, भानुआटु, इरिट्रिया, मौरिटानियाबाट एक/एक जना मात्र सहभागी हुने छन् । अन्य मुलुक तथा नियोगका १० जना सहभागी हुने निश्चित भइसकेको बोर्डको भनाइ छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्डको ५८औं बैठकले आगामी साता सम्मेलनमा प्रस्तुत गरिने ९ खर्ब रुपैयाँ बराबरका १ सय ४८ परियोजनाको सूची स्वीकृत गरेको छ ।
अब परियोजनाको संख्या नघट्ने तर केही परियोजना बढ्न सक्ने बोर्डका प्रवक्ता उपाध्यायले बताए । ‘लगानी सम्मेलनमा प्रस्तुत गरिने १ सय ४८ परियोजना धेरैजसो टुंगिए, केही राम्रा परियोजना आएको खण्डमा थपिन सक्ने सम्भावना छ,’ बोर्डका प्रवक्ता उपाध्यायले भने, ‘अब थपिने परियोजना मार्केट साउन्डिङमा रहनेछन् ।’ सरकारले गठन गरेको अध्ययन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई एउटै प्याकेजमा राखेर सार्वजनिक निजी साझेदारी (पीपीपी) को मोडेलमा विकास गर्न सकिने सुझाव दिएको थियो । त्यसकारण यी आयोजना मार्केट साउन्डिङका लागि थपिन सक्ने बोर्डले जनाएको छ ।
लगानी सम्मेलनका लागि गठित प्राविधिक समितिले वित्तीय व्यवस्थापनका लागि १८, आशयपत्र माग गरिने २०, मार्केटिङ साउन्डिङका लागि ७, पहिचान चरणका ३१, प्रस्तुतीकरणका लागि २७, लगानीको खोजी गर्न १४ र निजी क्षेत्रले छनोट गरेको ३१ परियोजना छनोट गरिएको थियो । बोर्ड बैठकले ह्वासिन नारायणी सिमेन्ट परियोजनाको थप लगानी ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ स्वीकृत गरेको छ । बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरेअनुसार उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्यांकनपछि वार्ता प्रक्रिया अगाडि बढाइएको बोर्डको भनाइ छ । पुनर्लगानीका विषयमा लगानी बोर्ड र डाबरबीच ०८० वैशाखमा परियोजना समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
बैठकमा प्रधानमन्त्री दाहालले सम्मेलनमा परियोजना प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यावहारिक परियोजना प्रस्तुत गर्नुपर्ने धारणा राखे । ‘लगानी सम्मेलनमा विस लिस्ट होइन ठोस र व्यावहारिक परियोजना प्रस्तुत गरौं,’ उनले भने, ‘सम्मेलनअघि ऐन संशोधन गरेका छौं, त्यसले लगानी बढाउन सघाउनेछ । त्यसैले पनि हामीले ठोस र व्यावहारिक योजना दिनुपर्छ, नयाँ सन्देश दिने गरी सम्मेलन गरौं ।’ लगानी सम्मेलनलाई नतिजामुखी र प्रभावकारी बनाउन स्वदेशी तथा विदेशी निजी क्षेत्रबाट हुने स्वपुँजी तथा ऋण परिचालनलाई सहजीकण गर्न मन्त्रालयहरूले विशेष इकाइ नै बनाएर अगाडि बढ्न उनले निर्देशन दिए । सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट मात्र मुलुकको समृद्धि हासिल हुने भन्दै निजी क्षेत्रलाई सुविधा दिन पुरातन सोच, पुरातन नीतिगत र कानुनी व्यवस्थाबाट सम्भव नरहेकाले नै सरकारले लगानीका अवरोध हटाउन कानुन संशोधनको कार्य अगाडि बढाएको उनले भनाइ छ ।
मुख्य पृष्ठ
धर्मगुरुकोमा नेताहरूको लर्को
- पर्वत पोर्तेल
(लारुम्बा, इलाम)
इलाम–२ को उपनिर्वाचनको उम्मेदवारीलगत्तै चैत १७ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई लिएर माङ्सेबुङको लारुम्बा पुगे । उनीहरूले लारुम्बाका ‘शक्तिकेन्द्र’ धर्मगुरु आत्मनन्द लिङ्देनसँग करिब एक घण्टा बिताएर फर्किए । मधेशवादी दल जनमत पार्टीका उम्मेदवार प्रेमसिंह थाम्सुहाङ पार्टी अध्यक्ष सीके राउतलाई लिएर चैत १६ मै धर्मगुरुलाई भेटेर फर्किएका थिए ।
हरेक चुनावमा उम्मेदवारहरू कार्यकर्तासहितको लर्को लिएर लारुम्बामा धर्मगुरु भेट्न जाने चलन इलाममा नयाँ होइन । यसपाला नयाँ भनिएका दल यही लर्कोमा मिसिएका मात्रै हुन् ।
विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि सुवासचन्द्र नेम्वाङ, राम राना मात्र हैन, कांग्रेसका अहिलेका उम्मेदवार डम्बर खड्का, भेषराज आचार्य, माओवादीका धीरेन शर्मा लारुम्बा पुग्थे ।
धर्मगुरुको ‘खल्ती’ मा रहेको केही हजार मत रहेको पाउने ‘विश्वास’मा उनलाई भेट्न दलका नेता र उम्मेदवार पुग्ने गरेका हुन् । नयाँ भनिएका रास्वपा र जनमत पार्टीका उम्मेदवारले पनि त्यसैलाई पछ्याए ।
रास्वपाका मिलन लिम्बू उम्मेदवारी घोषणापूर्व पनि गुरु दर्शनमा पुगिसकेका थिए । पछि सभापति लामिछानेसहित उनी दोस्रो पटक पुगेका हुन् । ‘लारुम्बा हाम्रो धार्मिक स्थल हो,’ लिम्बूले भने, ‘गुरुको दर्शनका लागि गएको हुँ ।’ पछिल्लो पटक भने गृहमन्त्री आउने कुराले धर्मगुरु पनि भेट्न इच्छुक देखिएकाले गएको उनले दाबी गरे । ‘गुरुको आशीर्वाद लिन मात्रै गएको हो,’ उनले भने, ‘अरू कुनै स्वार्थ छैन ।’
राजनीतिशास्त्री युद्धप्रसाद वैद्यका अनुसार धर्मगुरुका अनुयायीको मत आफूतिर तान्न सकिन्छ कि भन्ने लोभमा उम्मेदवारहरू उनलाई भेट्न पुग्छन् । ‘मतको लोभले नेताहरू गुरु भेट्न पुगेका हुन्,’ उनले भने, ‘गुरुलाई खुसी पारेर नेताहरूले आशीर्वाद लिने चलन निकै पुरानो हो ।’ स्थानीयका अनुसार फाकफोकथुम, माङ्सेबुङ, माई, देउमाई र चुलाचुली क्षेत्रमा धर्मगुरुका अनुयायी छन् ।
विगतमा लारुम्बाका गुरु एमाले नेता सुवास नेम्वाङप्रति सकारात्मक रहेको बताइन्थ्यो । यसपाला लारुम्बाको झुकाव कतातिर छ भन्नेमा सबैको चासो छ । यसपाला लारुम्बा गुरुको झुकाव पहिचानको राजनीति बोकेर चुनावी मैदानमा उत्रिएकाहरूतिर जान सक्ने अड्कलबाजी पनि राजनीतिक वृत्तमा उत्तिकै छ । पहिचानवादीका तर्फबाट उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमले शिक्षण पेसाबाट अवकाशपछि लारुम्बामै बसेर गुरुको सेवा गरेको तथा कोशी प्रदेश नामकरणप्रति गुरुको असन्तुष्टि रहेको भन्ने तर्कलाई अघि सारेर एकथरीले गुरुको झुकाव थेगिमतिर हुने अड्कल काटिरहेका छन् ।
गुरुले सोमबार मात्रै पहिचानवादी उम्मेदवार थेगिमको चुनावी र्यालीको शुभमुहुर्त गरेका थिए । लारुम्बाका गुरुको मत कतातिर सोझिन्छ भन्ने मंगलबारसम्म प्रस्ट भइसकेको छैन तर उनको झुकावले पहिचानको राजनीतिलाई मलजल गर्छ कि गर्दैन भन्ने कुराले चुनावलाई प्रभावित पार्न सक्छ भन्नेमा सबै उम्मेदवार सजग देखिन्छन् ।
एमालेका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकालमा कोशी प्रदेश नामकरण भएपछि त्यसको विरोधमा पहिचानवादी निरन्तर आन्दोलित छन् । भलै एमाले उम्मेदवार सुहाङ नेम्वाङले आफूहरू पहिचानविरोधी नभएको र पहिचानकै राजनीति गरिरहेको दाबी सुनाइरहेका छन् ।
तर विगतका वर्षमा सुवास नेम्वाङ चुनाव सामुन्नेमा लारुम्बा पुग्ने
गरे पनि यसपाला उनका छोरा सुहाङले बाबुको बाटो पछ्याएका
छैनन् । उनी लारुम्बा नजानुमा पहिचानकै मुद्दा मुख्य कारण रहेको एमालेकै नेताहरू बताउँछन् ।
कांग्रेस उम्मेदवार डम्बर खड्का सार्वजनिक रूपमा कोशी प्रदेशको नाम उच्चारण गर्न हिचकिचाइरहेको देखिन्छन् । उनले पहिचानसँग जोडिएका
आफ्ना कार्यकर्तालाई आश्वस्त पार्दै आफू पहिचान पक्षधर भएको दाबी सुनाउने गरेका छन् । भन्छन्, ‘कोशी प्रदेश नामकरणलगत्तै मैले प्रदेशका १४ वटै जिल्ला सभापतिलाई हस्ताक्षर गराएर विरोध गरेको छु ।’ सोमबार मात्रै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितको टोली पनि लारुम्बा पुगेर धर्मगुरु भेटेर फर्किएको छ । उनीहरूको यो भेटघाटलाई पनि सन्निकट चुनावी दौडधुपकै एउटा हिस्साका रूपमा कांग्रेसका कार्यकर्ताले अर्थ्याइरहेका छन् ।
महामन्त्री शर्माले धर्मगुरुले माया गर्ने केही मान्छेमा आफू पनि पर्ने भएकाले गुरुलाई भेट्न गएको सुनाए । केही समयअघि प्रदेशको नाम ‘विराट–किरात’ हुनु पर्छ भनेर शर्माले गरेको भाषण उनले मन पराएका थिए । केही समय गुरुसँग भलाकुसारी गर्ने क्रममा गुरु यसपटक आफैं अलमलमा परेजस्तो देखिएको उनले बताए ।
मुख्य पृष्ठ
कतार उड्दै रुद्रकली र खगेन्द्र
- रमेशकुमार पौडेल
(चितवन)
कतारका अमिर शेख तमिम विन हमाद अल थानीको स्वागतमा संघीय राजधानी काठमाडौं व्यस्त रहेका बेला चितवनमा पनि कतारका लागि खास तयारी चलिरहेको छ । नेपालीको प्रमुख रोजगार गन्तव्य रहेको कतार जाँदै छन्, सौराहाको खोरसोरमा हुर्केका पोथी हात्ती रुद्रकली र भाले हात्ती खगेन्द्रप्रसाद । सरकारले यी दुवै हात्ती कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी
रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले आफूहरूलाई कतारलाई उपहार दिने सम्भावित हात्ती छनोट गर्न भनेपछि रुद्रकली र खगेन्द्रप्रसाद छनोटमा परेको बताए ।
‘यी दुवै हात्ती हामीले पठाउन तयार गरिरहेका छौं,’ उनले भने । निकुञ्ज प्रशासनका अनुसार कतार जाने रुद्रकली ६ वर्ष ६ महिना पूरा भएको छ भने खगेन्द्रप्रसादको उमेर पाँच वर्ष सात महिना पूरा भएको छ । हात्ती जन्मेको साढे दुई/तीन वर्षपछि खोरसोरको प्रजनन केन्द्रमा नै माउतेको इसारामा काम गर्ने र वन बाहिरको वातावरणमा अभ्यस्त बनाउन तालिम दिन सुरु गरिन्छ । यी दुवै हात्ती तालिम प्राप्त हुन् । निकुञ्ज प्रशासनका अनुसार खगेन्द्रप्रसाद माहुतेको इसाराअनुसार ‘पाहुना’लाई फूलमाला पहिर्याउने कलामा पोख्त छ । खोरसोरको प्रजनन केन्द्रमा प्रजननका लागि जंगली भाले हात्तीको भर पर्नुपर्छ । रुद्रकली पूजाकलीको र खगेन्द्रप्रसाद कोशीकलीको सन्तान हो । निकुञ्जका अधिकारीहरूका अनुसार दुवैको बाबु जंगली भाले हात्ती ‘रोनाल्डो’ हो । संरक्षण अधिकृत तिवारीका अनुसार बाहिर पठाउने हात्तीका लागि विभिन्न मापदण्डमा ख्याल राख्नुपर्ने हुन्छ । ‘उमेरका हिसाबले पनि बाहिर पठाउन उपयुक्त छ या छैन हेर्नुपर्छ । साह्रै कम उमेरको हात्ती पठाएर पनि भएन, बढी उमेरको हात्ती पठाए त्यहाँको नयाँ वातावरणमा घुलमिल हुन नसक्ला कि भन्ने हुन्छ,’ उनले भने, ‘त्यसैले नयाँ परिवेशमा पनि अनुकूलन हुन सक्ने कुरा ख्याल राख्नुपर्छ ।’
निकुञ्ज प्रशासनका अनुसार कतार लैजाने हात्तीका बारेमा बुझ्न कतारका सरकारी अधिकारीहरू पनि दुई पटक चितवन आएका थिए । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठको टोली पनि कतार पुगेर त्यहाँको अवस्था अवलोकन र अध्ययन गरेर फर्केको थियो । ‘यी दुई टोलीको अध्ययन भ्रमणले हात्ती लान र दिन सकिने निर्क्योल गरेको हो,’ संरक्षण अधिकृत तिवारीले भने । हात्ती पठाउने मिति भने यकिन गरिएको छैन । ‘सायद अमिरको भ्रमणका क्रममा नै हात्ती पठाउनेबारे समझदारी पत्रमा हस्ताक्षर होला र मन्त्रालयले पठाउने मिति तोक्ला,’ उनले भने ।
यी दुवै तालिम प्राप्त हात्तीका माउतेलाई पनि हात्तीसँगै कतार पठाउन निकुञ्जले सिफारिस गरेको छ । संरक्षण अधिकृत तिवारीले हात्तीले माउतेबाहेकको इसारा नमान्ने भएकाले माउतेलाई पनि पठाउन सिफारिस गरिएको हो । चितवन सौराहादेखि उत्तर पश्चिम खोरसोरमा २०४२ सालदेखि हात्ती प्रजनन केन्द्र सञ्चालन छ । चितवन निकुञ्जको स्थापनामा नै सक्रिय रहेका निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवका अनुसार पहिला नेपालमा भारतको आसामतिरबाट जंगलमा बच्चामा समाएका हात्ती किनेर ल्याउने चलन थियो । पछि जंगलका हात्ती किनबेचमा प्रतिबन्ध लाग्यो । ‘त्यसपछि सरकारी कामकाजलाई आवश्यक पर्ने हात्ती जन्माउने उद्देश्यले खोरसोरमा प्रजनन केन्द्र खुलेको हो,’ उनले भने । रामप्रितले यो केन्द्रमा सुरुमा थाइल्यान्डबाट भाले र पोथी गरी दुई हात्ती उपहार आएको र नेपालले चार गैंडा उपचार दिएपछि भारतबाट १६ हात्ती उपहारमा आएको बताए । निकुञ्जका सूचना अधिकारी तिवारी बर्मा (म्यानमार) बाट पनि दुईवटा हात्ती प्रजनन केन्द्रका लागि उपहार आएको बताए । यो केन्द्रबाट अहिलेसम्म ६२ हात्ती हुर्किसकेका छन् ।