You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
Page 3
Page 4
Page 5
Page 6
Page 7
सम्पादकीय

स्वास्थ्य संकटकाल : मिलेर सामना गरौँ

- नेपाल संवाददाता

डोनाल्ड ट्रम्पले जति दोहोर्‍याए पनि कोरोना अब ‘चिनियाँ भाइरस’ मात्रै रहेन । तीन महिनाअघि वुहानबाट सुरु यो विषाणुबाट अर्को छिमेकी भारतसहित १ सय ८५ देश संक्रमित भइसक्दा नेपाल हालसम्म सुरक्षित रहनु पक्कै सुखद छ । सर्वत्र स्वास्थ्य संकट बन्न पुगेको यो विश्वव्याधिविरुद्ध सतर्क र साझा प्रतिरोध चाहिएको छ । दुर्भाग्यवश आजको विश्व तीन दशकअघिको शीतयुद्धकालझैँ विभाजित मनोदशामा छ ।
नेपालको १९ माघ अंकमा हामीले कोरोनालाई जलवायु परिवर्तनको दोख चित्रित गरेका थियौँ । यी तीन महिनामा ज्यान गुमाउनेहरूको संख्या १० हजार नाघ्दै गर्दा चीन स्वयं भने कोभिड–१९ को सफल नियन्त्रणमार्फत बाँकी विश्वलाई प्रेरणा दिइरहेको छ । सर्वाधिक क्षतिग्रस्त इटालीलाई सघाउन चिनियाँ चिकित्सक पुगिसकेका छन् ।
सार्स, मर्स, इबोला, जिकाजस्ता संक्रामक रोगहरूको संकटले यसअघिका वर्षहरूमा विभिन्न देश आक्रान्त हुने गरे पनि कोभिड–१९ को संवेदनशीलता बढ्ता देखिन गयो । सबै महादेशमा कोरोना फैलिइसक्दा पनि नेपाल अहिलेसम्म ग्रीन जोनमा छ । कुनै पनि बेला यो विषाणु नेपाल पस्ने सन्त्रास कायमै छ ।
आशा, हतासा र कामनामा दिन बिताइरहेका नागरिकलाई ढाडस दिने मनसुवासहित प्रधानमन्त्री केपी ओलीले ७ चैतमा सन्देश जारी गरेका छन् । जनस्वास्थ्यमा सम्भावित विपत्तिपूर्व अपनाउनुपर्ने सतर्कताबारे उनको चासो देखिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अगुवाइमा राज्यका संयन्त्रहरू यो प्रकोपको सम्भावित दुश्चक्र तोड्न एक हदसम्म तयार देखिएका छन् । यो तत्परता सकारात्मक, तर अपूरो छ ।
यो स्वास्थ्य संकटकै कारण अर्थतन्त्रमा ठूलो क्षति पर्न सक्ने देखिएको छ । पहिले जनजीवन त सामान्य बनोस्, त्यसपछि यो भ्वाङ सबै क्षेत्र मिलेर टालौँला । कुनै पनि अभिभावक–राज्यका सामुन्ने उसका नागरिकहरूको सुरक्षा र स्वास्थ्य पहिलो जिम्मेवारी हुन आउँछ । हाम्रा अस्पतालहरूमा पर्याप्त आईसीयु छैनन् । सेना, सरकारी अस्पतालले गरेको तयारी अपुग छ । चितवनलगायत केही ठाउँमा ७२ घन्टाभित्रै ५० शय्याका अस्पताल निर्माण भएका छन् । समग्र कार्यसम्पादन भने कमजोर छ ।
यो विश्वव्याधि आगमनको सन्त्राससँगै बजारमा अत्यावश्यक सामग्रीको कृत्रिम अभाव सिर्जना हुन गएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चार महिनासम्म पुग्ने खाद्य, औषधीलगायत सामग्री रहेको दाबी व्यवहारमा देखिएको छैन । कोरोनाको नाममा काला बजारियाको संक्रमण भइसकेको सम्बन्धमा हामीले दुई साताअघिको सम्पादकीयमार्फत सरकारलाई सचेत गराएका छौँ ।
यो स्वास्थ्य संकटका बेला राज्यका निकाय, सार्वजनिक उत्तरदायित्व बोकेका संस्था, राजनीतिक दल, नागरिक समाज, शैक्षिक संस्थाहरू सबैले रचनात्मक भूमिका खेल्नुपर्छ । स्कुल कलेजका परीक्षा, भर्ना प्रक्रिया स्थगित भएका छन् । कोरोनाका प्रामाणिक घटना देखा परे देश बन्द अवस्था (लक डाउन) मा पुग्न सक्छ । यो अंकमा हामीले कोभिड–१९ संक्रमणपूर्व अपनाउनुपर्ने सावधानीबारे विभिन्न कोणबाट छलफल चलाएका छौँ ।
नेपालीलाई थाहा छ, विपत्तिका बेला कसरी मिलेर काम गर्नुपर्छ । प्राकृतिक, राजनीतिक, सामुदायिक विप्लवहरू झेल्दै यहाँसम्म आएका हाम्रो विगत अनुभवले यही देखाउँछ । कोरोना पोजिटिभ देखिएका एक मात्र बिरामी यसअघि नै निको भइसकेका छन् । समय छँदै देखाइने अग्रसरता यही स्तरमा कायम रहे हामी सम्भवतः यो विश्वव्याधि छल्न सफल राष्ट्र बन्न सकौँला । तर त्यसका लागि प्रार्थना गरेर बस्ने बेला छैन, नआत्तिईकन सक्दो कदम चालौँ ।

Page 8
प्रतिक्रिया

प्रतिक्रिया

तस्करीले जेलिएको नेपाल
नेपालको वार्षिक बजेटभन्दा झन्डै दुई गुणा बढी वन्यजन्तुको अवैध कारोबार हुँदो रहेछ (वन्यजन्तु आखेटोपहार, तस्करीको विश्व सञ्जालमा नेपाल, ९ चैत) । सालकको खपटा, बाघको छाला, गैँडाको खाग, कस्तुरी मृगलगायतको तस्करी गिरोहमा नेपालीको पनि संलग्नता भेटिनुले यसको तार संसारभर फैलिएको बुझ्न कठिन छैन ।
वन्यजन्तुको तस्करी छिमेकी भारत, चीन हुँदै भियतनाम, टर्की र अफ्रिकासम्मै पुग्नुले नेपाल ट्रान्जिट प्वाइन्ट रहेको देखाउँछ । अवैध वन्यजन्तुका विभिन्न अंगको कारोबारमा संलग्न नेपालीलाई विदेशीले प्रलोभनमा पारेर परिचालन गरेकैले नेपाल सुरक्षित गन्तव्य बनेको हो ।
चीन, भियतनामलगायत मुलुकमा अवैध वन्यजन्तुका विभिन्न अंगबाट औषधी बनाइने गरेकोबाट पनि तस्करी मौलाउन सहयोग पुगेको देखिन्छ । अन्तर्राष्ट्रिय गिरोहले चीन, जापान, कम्बोडिया, भारतलगायत मुलुकमा अवैध वन्यजन्तुका विभिन्न अंगको कारोबार थलो नेपाललाई बनाउनुले पनि यसको सञ्जाल विश्वव्यापी रहेको पुष्टि हुन्छ ।
- जयबहादुर तामाङ
गजुरी गाउँपालिका, धादिङ


थलिएको कांग्रेस
कांग्रेसमा आगामी महाधिवेशन आफ्नो पक्षमा पार्न पार्टी सभापति शेरबहादुर देउवा र इतर पक्षका रामचन्द्र पौडेलबीच झांगिँदै गएको अविश्वासको मूल कारण गुट–उपगुटको राजनीति नै हो (देउवाको दोहोरिने दाउ, २ चैत) । गुटबन्दीकै कारण तीनै तहको निर्वाचनमा पराजय भोगेको कांग्रेसभित्र पार्टी पकड बलियो बनाउने नाममा फेरि कचिंगल सुरु भएको देखिन्छ । कार्यकर्तालाई गोलबद्ध गरेर आउँदो महाधिवेशन सफल बनाउनुपर्नेमा नेता–नेताबीचमै बेमेल स्थिति आउनु कांग्रेसभित्रको घरझगडा थप झांगिने संकेत पो हो कि ?
- दुर्गा दंगाल
विराटनगर, मोरङ

कसले दिने न्याय ?
माओवादीको सशस्त्र द्वन्द्व सत्ताप्राप्तिमा गएर टुंगिए पनि त्यसका बाछिटाले पीडित भएकाहरुको आवाज सुन्ने निकाय भएन (द्वन्द्वकालका कहालीलाग्दा छायाहरु, १८ फागुन) । द्वन्द्वका बेला राज्यपक्ष र माओवादीबाट पीडित हुनेहरुको व्यथा सुन्दा जोकोही पनि निःशब्द हुन विवश छ ।
सरकारले गठन गरेको सत्यनिरुपण तथा मेलमिलाप आयोग पदाधिकारी भागबन्डामा नियुक्त गरिँदा तिनले दिने न्यायप्रति द्वन्द्वपीडितको रत्तिभर विश्वास छैन । माओवादी आशंकामा सर्वसाधारणलाई घरबाटै लगेर हत्या गर्ने सैनिक र कांग्रेस समर्थक भएकै कारण माओवादीबाट काटिएकालाई न्याय दिलाउन द्वन्द्वपीडितले अब अन्तर्राष्ट्रिय अदालत गुहार्नुको विकल्प छैन ।
- उदयबहादुर चौधरी
राजपुर गाउँपालिका, दाङ

प्रतिक्रिया

साताका ७

१. तालाचाबी केन्द्रले लिएर प्रदेश सरकारले कहाँ काम गर्ने ? (अन्तर्वार्ताः उपेन्द्र यादव)
प्रदेश सरकारहरुसँग आफ्नो शासन, प्रशासन हाँक्‍ने तालाचाबी नै छैन । उनीहरुलाई अपांग बनाइएको छ । अपांग बनाउने अनि दौडिन सकेनन् भन्‍नु दोहोरो चरित्र हो ।

२. यसो गरे नेपाल कोरोना रोक्न सफल देश बन्‍न सक्छ (महेश मास्के)
यो नयाँ रोगको औषधी र भ्याक्सिन छैन । तर यसबाट संक्रमित करिब ८२ प्रतिशत रोगी आफैँ निको हुन्छन् । १३ प्रतिशतजति अस्पतालमा निको भएका छन् भने ५ प्रतिशतजति गम्भीर अवस्थामा पुग्न सक्छन् ।

३.कमेडी च्याम्पियन विजेता हिमेश पन्तलाई १० प्रश्न (भिडियो)
लजिकल कमेडियन हुन्, हिमेश । प्रतिस्पर्धामा रहुन्जेल सुरुदेखि अन्तिमसम्म सबभन्दा अब्बल उनै ठहरिए । उनका जोक सामाजिक, आर्थिक र बढी राजनीतिक क्षेत्रका हुन्थे । साथमा शेरबहादुर देउवा, प्रचण्ड, केपी ओलीलगायत बलिउड हिरोहरुको पनि क्यारिकेचर गरे । अन्ततः टाइटल उनले नै जिते ।

४. कोरोना अर्थात् मानव जातिको साझा नियति (लक्ष्मी लम्साल)
कोरोनाले सीमा नाघेर शक्तिशाली भनिएका अरु राष्ट्रहरुलाई पनि हायलकायल बनाउन थालेपछि बुझ्नुपर्छ, एकअर्कालाई हेपेर होइन कि सम्मान गरेर हातेमालो गर्नुपर्छ ।

५. प्रधानमन्त्रीको स्वास्थ्य र राजनीतिको अर्थ (सञ्जीव पोखरेल)
प्रधानमन्त्री ओली आफैँले गरेका कतिपय निर्णय र उनका निकट सहयोगीहरुको भूमिका विवादास्पद देखिएका छन् ।
आफ्ना सहयोगी मुछिएका भ्रष्टाचार र अनियमितताका काण्डमा ओलीले उनीहरुको खुला बचाउ गरेका छन् । यसबाट ओलीको सुशासन र पारदर्शिताप्रतिको प्रतिबद्धतामा प्रशस्त शंका उत्पन्‍न भएको छ ।

६. नेपालमा डिजिटल बैंकिङ प्रयोगको अवस्था (इन्फोग्राफिक)
केही वर्षयता नेपालमा डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ६८ लाख १९ हजार ६ सय २ जनाले डेबिट कार्ड प्रयोग गर्छन् भने एक लाख ३७ हजार ६ सय ५६ जनाले क्रेडिट कार्ड प्रयोग गर्छन् । ९ लाखभन्दा बढीले इन्टरनेट बैंकिङ सुविधा लिएका छन् ।

७. हरेक विकास आयोजना बिचौलियाको प्रभावमा
एजेन्टहरुले कमिसनको प्रलोभनमा पारेकै कारण सरकारले उपत्यकामा ठूल्ठूला गाडी खरिद गर्नुको साटो मेट्रो रेल, मोनो रेललाई राष्ट्रिय गौरवका आयोजनाभित्र पारेको छ । जबकि उपत्यकाको आवश्यकता मोनो रेल होइन । माथिल्लो कर्णाली, अरुण तेस्रो पनि एजेन्टकै कारण वर्षौंदेखि अलपत्र छन् ।

Page 9
Page 10
Page 11
मुलुकबाहिर

निर्वस्त्र सडक पार गर्दा

- नेपाल संवाददाता

एनबरा सलाम प्रेमीसँग जर्मनी घुम्न गएकी थिइन् । उनीहरुले स्पा गर्न होटल बुक गरे । साउना गर्दा पूरै वस्त्र फुकाल्नुपर्ने नियम थियो ।
नियमअनुसार सलामले सबै वस्त्र फुकालिन् र रुमाल मात्र बेरेर साउनामा प्रेमीलाई भेट्न गइन् । तर साउना कोठामा छिर्नुपर्नेमा गल्तीले आगो लागे भाग्ने इमर्जेन्सी कोठामा पुगिन् । त्यहाँ आगो निभाउने फ्यान, पम्प र करेन्ट लाग्ने संकेत स्वरुपका अजंग मेसिन थिए ।
त्यसपछि सलामको सातो गयो । सलाम आत्तिएर चिच्याइन्, कराइन् तर कसैले उनको आवाज सुनेनन् । डराउँदै सर्भिस लिफ्टमा पुगिन् । त्यहाँ सेक्युरिटी क्यामेरा जडान थियो । कसैले आफूलाई निर्वस्त्र नदेखोस् भनेर उनले क्यामेरामा हेर्दै कराइन् । अन्ततः जर्मन गार्डले देख्यो र उनलाई लिन आयो ।
मिररडटकोडटयुकेका अनुसार लिफ्टबाट सुटुक्क स्पा गर्न जाने सलामको योजना चकनाचुर भयो, जब गार्डले बिनारुमाल उनलाई देखे । सलाम निर्वस्त्र सडक पार गरेर अर्को स्पा भवन पुगिन् । सडकमा थुप्रै मान्छे थिए । रिसेप्सन डेस्कमा पुगेर सबै कुरा बताउनुपर्ला भनी सोच्दै
गर्दा धन्न एक वृद्धाले उनको लाज ढाकिदिइन् ।

त्यस बखतको नेपाल

खतरामा रहेको तारैतारको सहर

- नेपाल संवाददाता

घाम नै छेक्ने गरी टाँगिएका तारहरू सुरक्षाका हिसाबले जति खतराजन्य छन्, त्यत्तिकै रूपमा तिनीहरूले सौन्दर्यसमेत बिगारिरहेका छन् । विश्वसम्पदा सूचीमा दर्ता भएका नेपालका आठ वटा सांस्कृतिक स्थलमध्ये ७ वटा काठमाडौं उपत्यकाभित्र पर्छन् । सिंगै काठमाडौं नेपालको एक मुख्य पर्यटन केन्द्र पनि हो । तर यहाँका कतिपय मठमन्दिर र बिहारहरू तारले छोपिएका देखिन्छन् भने मन्दिर र सहरका चोकको खाली भागमा ‘ट्रान्सफर्मर’ राखिएको हुन्छ । त्यसैगरी सडक विभाग, खानेपानी, नगरपालिकाजस्ता सम्बन्धित निकायसँगको समन्वयको अभावका कारण सौन्दर्यको क्षति र खतरामा वृद्धि भइरहेको छ ।
नेपालका मुख्य सहरहरूलाई जालोझैं गरी छोप्ने अव्यवस्थित तारको समाधन सबै लाइनहरू भूमिगत गर्नु नै हो । तर यो अत्यन्त खर्चिलो हुने कुरा सम्बन्धित क्षेत्रका व्यक्तिहरू बताउँछन् । प्राधिकरणका काठमाडौं मध्यशाखा प्रबन्धक हृषिकेश शर्मा भन्नुहुन्छ, ‘खुला तार प्रतिमिटर ५०–६० रुपैयाँ मात्र पर्छ । तर ११ हजार भोल्टको ‘अन्डर ग्राउन्ड’ केबुल प्रतिमिटर दुई हजार रुपैयाँ पर्छ ।’
नेपाल, १–१५ चैत २०५७

Page 12
कविता

दुई सेट मिर्गौला

- सुरेश किरण

हाल देश चलाइरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई छोटकरीमा ‘नेकपा (नेकपा)’ भन्ने गरिन्छ । अझ त्योभन्दा पनि छोटकरीमा ‘डबल नेकपा’ पनि भनेको सुनिन्छ । एउटै नाममा दुइटा नेकपा, अर्थात् नेकपा–नेकपा भएकाले सायद डबल नेकपा भनिएको हुन सक्छ । तर यथार्थमा यो पार्टीमा नाम मात्र दुइटा होइन, अरु पनि धेरै त्यस्ता कुरा छन्, जो दुइटा छन् । जस्तो, पार्टी अध्यक्ष । यो पार्टीमा अध्यक्ष नै दुई जना छन् । सरकारमा पार्टीलाई प्राप्त जो बहुमत छ, त्यो पनि दुई तिहाइ नै छ । दल त एउटै हो तर राम्ररी केलायो भने देखिन्छ, त्यहाँभित्र पार्टीचाहिँ दुइटै छन् । अब हुँदाहुँदा केसम्म भइदियो भने पार्टीबाट चुनिएका प्रधानमन्त्रीको पेटभित्र विद्यमान मिर्गौला जो छ, त्योसमेत दुई सेटै छन् । उनी संसारकै त्यस्तो एक्लो प्रधानमन्त्री हुन्, जसको शरीरभित्र दुई सेट मिर्गौला जडित छन् ।
अब मिर्गौला दुई सेट भए पनि चालू त एक सेट मात्रै हो । एक सेट त नाम मात्रैको । मिर्गौला त छ तर त्यसको कुनै काम भने छैन । त्यसो त पार्टीमा भएका अरु ‘दुइटा’ हरु पनि यही मिर्गौलाजस्तै हो । छन् त दुइटै तर चालू एउटा मात्र हो, अर्कोचाहिँ देखाउने मात्रै । जस्तो, दुइटा नेकपामध्ये एउटा नेकपा । दुइटा पार्टीमध्ये एउटा पार्टी । अनि, दुइटा अध्यक्षमध्ये एउटा अध्यक्ष ।

कविता

लोकल स्यानिटाइजर

- सुरेश किरण

कोरोना प्रकोप सुरु भएपछि बजारमा स्यानिटाइजर गायब भएको छ । सुनिन्छ, अहिले स्यानिटाइजरको पनि कालोबजारी चलिरहेको छ । हिजोअस्ति सुन ल्याउने तस्करसमेत अहिले त्यो छाडेर स्यानिटाइजर ल्याउन थालेका छन् रे । आखिर तस्करी भनेको त्यही वस्तुको गर्ने हो, जुन गर्दा फाइदा हुन्छ ।
बजारमा स्यानिटाइजर अभाव भएपछि ललितपुर महानगरपालिकाले ‘घरेलु स्यानिटाइजर’ उत्पादन सुरु गरेको रहेछ । यो पनि राम्रै काम हो । हालै ललितपुर जाँदा मैले पनि त्यही स्यानिटाइजर प्रयोग गरेको थिएँ । ‘लोकल’ स्यानिटाइजर हो, नतिजाचाहिँ राम्रै निस्क्यो ।
बाइकबाट काठमाडौँ फर्कंदै थिएँ । बाटोमा मापसे चेकिङ भइरहेको रहेछ । एउटा बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘मापसे होइन नि सर, यो त लोकल स्यानिटाइजर प्रयोग गरेको हो । लोकल स्यानिटाइजरको न्युज हेर्नुभएन ?’
ट्राफिक ट्वाँ परे ।
हालै मित्र भजनलाल पनि घर जाँदा ढिलो भइसकेको थियो । कारणचाहिँ उही हो, भट्टीबाट निस्कनै ढिलो भएपछि घर पुग्न पनि ढिलै हुने भयो । ह्वास्स गन्ध आएपछि श्रीमती कराउन थालिहालिन् । तर भजनले आफूलाई कन्ट्रोल गर्‍यो, ‘नकरा न बूढी, स्यानिटाइजर हो क्या स्यानिटाइजर । नेपालमै बनेको लोकल स्यानिटाइजर । यसको गन्धै यस्तो छ त म के गरुँ ?’
‘स्यानिटाइजर ! अनि मलाई खोइ त ?’ बूढी दंग परी ।
‘इ, यहाँ छ नि । यस्तो महामारीको बेला छ । लगाऊ न एक पेग लोकल स्यानिटाइजर ।’
‘लोकल स्यानिटाइजर’ लगाएपछि दुवै जना मीठो निद्रामा गए । भजनले झटारो खानु परेन ।

Page 13
कविता

केवल कोरोनाका लागि

- सुरेश किरण

कोरोना भाइरसको संक्रमणपछि त्यसलाई रोक्न संसारभरि नै युद्धस्तरमा काम भइरहेको छ । कतै संकटकाल घोषणा, कतै सहरै बन्द, कतै क्वारेन्टाइन निर्माण, कतै औषधी उत्पादन । यस्ता थुप्रै काम भइरहेका समाचार निरन्तर आइरहेका छन् । तर संसारमा यति भइसक्दा पनि नेपालमा खासै केही भएन भन्ने गुनासा प्रशस्तै छन् । नेपालमा कोरोना आएको छैन है भन्दै सरकार ढुक्कसाथ बसिरहेको आरोप पनि छ ।
यथार्थमा सरकार केही नगरी बसिरहेको चाहिँ होइन । काम थुप्रै भएका छन् । जस्तो, हालै मात्रै समाचारमा आयो, आपूर्तिमन्त्री नुन किन्न गए । एउटा मन्त्रीजस्तो मान्छे बजारमा नुन किन्न गइरहेका छन् । किन ? यही कोरोनाका कारण होइन ? मन्त्रीजी स्वयं नै भेष बदलेर बजारमा नुन किन्न गइसकेपछि कोरोनाका लागि योभन्दा बढी अरु के गर्नुपर्‍यो ? मन्त्री भएपछि मान्छे सुन किन्न मात्रै बजार जाने गर्छन् । हाम्रा मन्त्री त नुन किन्न पनि बजार गए । के यो कम्ताको चिन्ता हो ?
त्यस्तै, प्रधानमन्त्रीलाई हेर्नुस् । उनी त झन् बढी चिन्तित छन् । मिर्गौला प्रत्यारोपण गरिएको दुई दिन भएको छैन, सकिनसकी सिंहदरबार गएर भिडियो कन्फरेन्समा बसिहाले । किन बसे ? त्यही कोरोनाका कारण होइन  ? प्रधानमन्त्री त ‘म अब सक्दिनँ बा’ भनी बालुवाटारमा आरामै गरेर बसेको भए पनि हुन्थ्यो नि । तर उनले आराम लिएनन् । यति अशक्त हुादाहुादै पनि प्रधानमन्त्री बालुवाटार टु सिंहदरबार, सिंहदरबार टु बालुवाटार दौडादौड गरिरहेकै छन् । के यसलाई केही गरेको छैन भन्न मिल्छ ?

झटारो

एकछिन सरकारलाई गाली गर्नुपर्‍यो

- लक्ष्मण गाम्नागे

कोरोनाको कहरले सहर त्रस्त छ । जाने ठाउँ र गर्ने कुरा छैन । दिमाग खालीखाली भयो । यसरी खाली बस्नु त भएन । केही न केही काम यो खाली समयमा पनि गर्नुपर्‍यो भनेर विचार गर्दा एउटा सजिलो र रमाइलो उद्यम गर्न मन लाग्यो, सरकारलाई गाली गर्ने । अहिले सबैभन्दा धेरै चलेको उद्यम यही छ । यसैमा लाग्नुपर्‍यो म पनि । गाली गर्ने विषय पनि खोज्नु नपर्ने, सरकारले नै दिनको दुई–चार वटा गाली खाने विषय दिइहाल्छ । अहिलेलाई ताजा विषय कोरोनालाई जोडेर गाली फुराइहेरौँ है त !
जस्तै, संसारभरि कोरोना भाइरस फैलिएको छ, दुनियाँले युद्धस्तरमा रोकथामका लागि काम गरिरहेको छ । हाम्रो सरकार भने कानमा तेल हालेर बसेको छ । यो सरकारले अहिलेसम्म एक जना पनि कोरोना संक्रमित पत्ता लगाउन सकेको छैन । जति पनि जँचाउन आएका छन्, सबका सबलाई नेगेटिभ भन्दै घर पठाउँदै गरेको छ । नक्कली प्रयोगशालामा नक्कली डाक्टरले जाँचेपछि कसरी पोजिटिभ भेटिन्थ्यो त ! अझ जाँचेकै पनि हो कि होइन शंकै छ । धन्य पशुपतिनाथको कृपाले तिनीहरूले अहिलेसम्म कोरोना फैलाएका छैनन् ।
पशुपतिको कुरा गर्दा हामी देशबासीले मात्रै होइन, उता अमेरिका, अस्ट्रेलिया वा इटलीतिरबाट हाम्रा परदेशी साथीहरूले आफैँ क्वारेन्टाइनमा बसेर पनि कोरोनाविरुद्ध सिन्को नभाँचेको भनेर सामाजिक सञ्जालमार्फत हाम्रो सरकारलाई गाली पठाइरहेका छन् । उनीहरूले श्री पशुपतिनाथलाई मुलुकको रक्षा गरिदिन पनि अपिल गरेका छन् । अनि, यस्तो बेकामे सरकारलाई हामी यहीँ बसेकाहरूले गाली नगरी बस्न मिल्छ त ?
गत साता एक छलफलमा स्वास्थ्यमन्त्रीले भने, सरकारले जनतालाई क्वारेन्टाइनमा राख्न सक्दैन, जनताले सेल्फक्वारेन्टाइनमा बस्नुपर्छ । कोरोना लागेपछि मात्रै सरकारले हेर्छ । यस्ता गैरजिम्मेवार व्यक्ति त स्वास्थ्यमन्त्री छन् । कोरोना लागेपछि त डाक्टरले हेरिहाल्छ नि, सरकारले हेर्नुपर्छ र ! यस्तो महामारीमा जनताले आफ्नो ज्यानको सुरक्षा आफैँ गर्नुपर्ने भए सरकार किन चाहियो ? युरोप, अमेरिकाका जनता सेल्फक्वारेन्टाइनमा बसे भन्दैमा हामी वीर नेपाली किन बस्ने ? त्यस्तो संवेदनाहीन, गैरजिम्मेवार मन्त्रीलाई सरकारले अहिलेसम्म किन नहटाएको ? (राम्रै गाली आयो है !)
ल हेर, चारैतिरबाट चर्को दबाब आएपछि बल्लबल्ल लाजगाल कोरोनाविरुद्धका कार्यक्रमको घोषणा गरेछ, यो कुम्भकर्णे सरकारले । कागजमा घोषणा गरेर मात्रै के हुन्छ र, कार्यान्वयन हुने होइन । बरु अब कोरोनाका नाममा कुनकुन मन्त्री, नेता र कर्मचारीले घर बनाउने हुन्, कतिले गाडी किन्ने हुन् । सरकार नै भ्रष्ट भएपछि के लाग्छ ! (गालीका लागि क्या काइदाको प्वाइन्ट फेला पर्‍यो ! सरकारलाई पेस्कीगाली पनि गर्न पाइयो ।)
यो खाली समय सामाजिक सञ्जालको व्यापक प्रयोग गरेर, अनेक उत्पात–उत्पात शीर्षक राखेर समाचार बनाएर पनि सरकारलाई उडाउनुपर्‍यो । जस्तै, ‘तीन जना कोरोना संक्रमित सरकारी अस्पतालबाट भागे’, ‘एयरपोर्टबाट अस्पताल पठाइएका ११ जना सम्भावित कोरोनाका बिरामी सिनामंगलबाट गायब’, ‘कतारले संक्रमित ९० कामदारलाई ल्याएर जबर्जस्ती एयरपोर्टमा छाड्यो’, ‘सरकारले एयरपोर्ट र भन्सार नाकाहरूमा दिएको ज्वरो नाप्ने मेसिन नक्कली प्रमाणित ।’
ल हेर्नुस्, एक जना पनि संक्रमित नभेटिँदै यस्ता खतरनाक जुक्तिहरू फुरिसके । साँच्चिकै देशमा कोरोना छिरेर सेल्फ क्वारेन्टाइनमा बस्नुपर्‍यो भने झन् कस्ता–कस्ता जुक्ति आउने होलान् !

Page 14
Page 15
सम्झना

थैले काण्डमा पक्राउ पुर्जी

- गोकुल अर्याल
गजेन्द्रमणि प्रधान

८  कक्षा पढ्दा नै म प्रगतिशील विचारको समर्थक बनिसकेको थिएँ । धरानबाट भोजपुर पुगेका कम्युनिस्ट पार्टीका नेता दिव्यप्रसाद आचार्यको अग्रसरतामा विद्योदय स्कुलको हातामा प्रगतिशील विद्यार्थी छात्र संघ टाउन कमिटी स्थापना भयो, ००९ मा । ५ सदस्यीय कमिटीमा भोजपुर, टक्सारका केदारनाथ श्रेष्ठ सचिव, देवराज शाक्य, दानबहादुर शाक्य, मलगायत सदस्य थियौँ । दानबहादुर कांग्रेस समर्थक भए पनि कम्युनिस्ट पार्टीमा लागेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी त्यतिबेला प्रतिबन्धित थियो । सुरुमा पार्टीबारे केही थाहा नभए पनि मलाई सदस्यमा राखिएको थियो । कलकत्ता पढेका भोजपुर टक्सारकै लक्ष्मीबहादुर हलुवाईले कम्युनिस्ट संगठन विस्तारमा ठूलो योगदान दिएका थिए । हलुवाईले केशवप्रसाद शर्मा (बीए), शुभद्रा सुब्बा, सरस्वती सुब्बा आदि दार्जिलिङका वामपन्थी पृष्ठभूमिका शिक्षक ल्याएका थिए ।
शुभद्रा हामीलाई विद्योदयमा पढाउँथिन् भने सरस्वतीले टक्सारको अर्को विद्यालयमा । पछि शुभद्रासँग वल्लभमणि दाहालले बिहे गरे । शुभद्राले त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान पढाइन् । भोजपुर कब्जापछि नारदमुनि थुलुङहरुले विद्योदय मिडिल स्कुलको नाम फेरेर प्रजातन्त्र शिक्षा भवन राखेका थिए ।
टाउन कमिटीमा कांग्रेस समर्थकलाई राखेको भन्दै विरोध भएपछि सेक्रेटेरियट दानबहादुरलाई हटाएर मलाई राखियो । त्यस समय माउ पार्टीका नेता पुष्पलाल संगठन विस्तारका लागि भोजपुर गएर हाम्रो घरमा केही दिन बास बसेका थिए । पुष्पलालसँग म पनि खटिएँ । पछि मनमोहन अधिकारीसँग पनि भोजपुरमै संगठन विस्तारमा हिँडियो । सेक्रेटेरियट हुँदा म जिल्लाको विद्यार्थी फाँटका गतिविधि हेर्थें ।
प्रगतिशील छात्र संघ नै पछि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा परिणत भएको हो । हामीले भोजपुरमा छात्र संघ खोलेर पदाधिकारी चयन गरेको समाचार त्यतिबेला गोरखापत्रले समेत छापेको थियो । अखिल बनेपछि पहिलो अध्यक्ष वासुदेव ढुंगाना चुनिए । यिनै ढुंगाना पछि स्नातक सभाका सदस्य, मन्त्री र राजदूतसमेत भए ।
जिल्ला सेक्रेटेरियट भएकै बेला म ललितपुरमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो सम्मेलनमा भोजपुरबाट एकल प्रतिनिधित्व गरेर आएको थिएँ । सम्मेलनले मनमोहनलाई महासचिवमा निर्वाचित गरेको थियो । पार्टी काम गुपचुप गरिए पनि मान्छे भूमिगत हुनु पर्दैनथ्यो ।
भोजपुरको चम्फेमा थैले काण्ड घट्यो, ००९ अन्त्यतिर । थैले काण्डका मुख्य नरबहादुर क्षत्री र अर्का एक जना थिए । नरबहादुरले चम्फेस्थित ससुराली घरमै नेपाल कम्युनिस्ट पार्टीको झन्डा गाडेर ‘कम्युनिस्ट भनेको यस्तो हो, उस्तो हो, हामी सबै दाजुभाइ हौँ, शासकले हामीलाई शोषण गर्छन्’ भनेर माइकमा फुक्दै हिँड्थे । बन्दुकसमेत ल्याएका उनीहरु निशानेबाज र बलिष्ठ थिए ।
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, नेपाली रुपैयाँको थैलो बोकेर हिँड्थे । त्यसैले उनलाई थैले भनिन्थ्यो । उनलाई पक्राउ गर्न त्यतिबेला भोजपुरमा रहेको १ सय २५ जनाको पल्टनलाई समेत हम्मे परेको थियो । पछि सेनाले नरबहादुरकी सासूलाई भित्रभित्रै मिलाएछ । खाना खान आएको समय घरको माथिल्लो तलामा राखेको बन्दुक सेनाले बाहिर फालिदियो । र, पक्राउका क्रममा भाग्न खोज्दा नरबहादुरका साथीलाई सेनाले गोली हानेर मारे ।


पक्राउपछि सेनाले नरबहादुरका हात ढुंगामाथि राखेर क्षतविक्षत पारेको र आँखामा चक्कु रोपेको दृश्य हामीले देख्यौँ । उनलाई पछि नख्खु जेल पठाइयो । नख्खु जेलमा रहँदा थुनिएका कम्युनिस्ट नेताहरुको खुब सेवा गर्थे रे नरबहादुर । उनको साहस देखेर राजा महेन्द्रसमेत प्रभावित थिए ।
०१८ माघमा जनकपुर भ्रमणमा गएका महेन्द्रमाथि बम प्रहार भयो । उक्त काण्डमा पक्राउ पर्ने परिहाले, नपरेकालाई खोजेर मार्न राजाले नरबहादुरलाई जेलमुक्त गरेका थिए रे । जेलमुक्त भएको केही समयपछि उनको पनि मृत्यु भयो ।
००९ मा मैले किसान संगठनको अञ्चल हेर्ने नेता हर्कबहादुर श्रेष्ठ भोजपुर आउँदै छन् भनेर बजारमा माइकबाट प्रचार गरेको थिएँ । थैले नै यिनीहरुको ठूलो नेता हो भनेर प्रचार गरेको भन्दै मलाई प्रशासनले वारेन्ट जारी गर्‍यो । डेढ महिनासम्म भूमिगत भएँ । बाबु कानुन जान्ने भएकाले पछि वारेन्ट फिर्ता लिन प्रशासन सहमत भयो । थैले काण्डपछि कम्युनिस्ट विद्यार्थी संगठनमा निरन्तरता दिन सकिनँ ।

Page 16
हाम्रो नेपालमा

मास्कमान्डु

- सरोज बैंजु

कोरोना भाइरसको सन्त्रास फैलिएसँगै अहिले बजारमा मास्कको चरम अभाव छ । फार्मेसी, स्वास्थ्य चौकी, अस्पतालहरूमा मास्क पाइन छाडेको छ । भाइरसबाट जोगिन प्रायःजसो एन–९५ मास्क प्रयोग गर्नुपर्ने हो । तर बजारमा अहिले साधारण मास्कको समेत अभाव छ ।
भनिन्छ, चीनमा कोरोना संक्रमण फैलिएका बेला यहाँ आयात भएका मास्क उतै गए । त्यसकारण अहिले बजारमा मास्क अभाव चुलिँदै गएर कालोबजारी व्याप्त छ । प्रतिगोटा ३ रुपैयाँ पर्ने मास्क पाइहाले पनि महँगो मूल्य तिर्नुपर्ने अवस्था छ ।
यसको हाहाकारबाट राहत पाउन ललितपुर महानगरपालिकाले आफैँ मास्क उत्पादन थालेको छ । महानगरअन्तर्गतको समाज कल्याण महाशाखाले महिलालाई मास्क बनाउने तालिम दिएको थियो ।
महानगरभित्रका २९ वटै वडाका महिला २ दिने सिलाइ तालिमपछि अहिले मास्क उत्पादनमा लागेका छन् । उनीहरू भन्छन्, “मास्क उत्पादन गर्न पाउँदा हामीलाई खुसी लागेको छ । अरू कुरा महानगर
प्रवक्तासँग सोध्नुहोला ।”

Page 17
Page 18
समाज

१३ वर्षमै बच्चा पाउँदा

किशोरी बुहारी बनेर घरमा, किशोर हिरासतमा
- सुनिता लोहनी

नवलपुरको हुप्सेकोट–१ सुन्दरबस्ती बेलुवाकी १३ वर्षीया किशोरीले २४ फागुनमा बच्चा पाइन् । घरनजिकैको शान्ति माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्ने ती किशोरी बच्चा पाउनु अघिल्लो दिनसम्म पनि विद्यालय गइरहेकी थिइन् । विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर भण्डारी ती किशोरीले बच्चा पाएको खबर सुन्दा नै छक्क परे ।
ती किशोरीलाई राती २ बजेदेखि ढाड दुख्ने र वान्ता भएको थियो । बिहान ६ बजे आमा र दाजुले उनलाई वडा–३ बेलहानीस्थित चौरंगी चोकको टीका मेडिकल पुर्‍याए । सो मेडिकल वडा–३ का वडाध्यक्ष छविलाल मिधुनको हो । उनी गाउँका सीएमए पनि हुन् ।
दाजु र आमाले मेडिकल लैजाँदा छविलाल दाँत माझ्दै थिए । आमाले भनिन्, ‘लौन ! छोरीलाई के भयो हेर्नुस् न ।’ त्यही बेला किशोरी ‘दिसा लाग्यो’ भन्दै शौचालय छिरिन् । केही क्षणमै चिच्याएर कराएको आवाज आयो । आमा दौडेर शौचालय छिर्दा दृश्य देखेर तर्सिइन् भने दाजु पनि तर्सेर कराए । आमाले के गरेकी यस्तो भनेर पनि कराइन् ।
यसैबीच वडाध्यक्ष छविलाल पनि हेर्न गए । आधा बच्चा बाहिर निस्केको थियो भने आधा भित्र । किशोरीले चर्पीमा अपांगता भएको मृतक बालक पाइन् । छविलालले ‘यस्तो उपचार गर्न सक्दिनँ’ भन्दै हजुरको सहकारी संस्थामा फोन गरे । त्यतिबेलासम्म किशोरीलाई बेडमा राखिएको थियो ।
बालिकाले बच्चाको बाबुको नाम बताइसकेकाले १५ वर्षीय किशोरको बुबाआमालाई ल्याउन छविलालले किशोरी बस्ने वडा– १ का वडा सदस्य लालबहादुर शेरपुर्जालाई फोन गरे ।
लालबहादुरका अनुसार दुवैका बाबुआमा र गाउँले जम्मा भएपछि किशोरीलाई किशोरको घरमा भित्र्याइयो । मृत बच्चालाई सुन्दरबस्तीकै जंगलमा गाडियो । बालिका अहिले किशोरको घरमा बुहारी भएर बसेकी छन् भने किशोर १२ दिनदेखि प्रहरी हिरासतमा छन् । पूर्वएमालेबाट जितेका छविलालका छोराले जबर्जस्ती करणी गरी गर्भपतन गराएको आरोप पनि छ ।
घटनाबारे प्रहरीसँग बुझ्न खोज्दा डीएसपी मोहन खाँड किशोरलाई हिरासतमा राखेको मात्र बताउँछन् । नाबालक भएकाले मुद्दाबारे कसैलाई बताउन नमिल्ने उनको तर्क छ । पीडित किशोरी भने ती किशोरसँग ५ वर्षदेखि प्रेममा रहेको बताउँछिन् । भन्छिन्, “सानैदेखि नै सँगै खेलेर हुर्केको । त्यसैले लभ पर्‍यो ।”
किशोरीसँग कुरा गर्दा उनकी सासू पनि सँगै थिइन् । टेलिफोन सम्पर्कमा गरिएको कतिपय प्रश्नका उत्तर किशोरीलाई सिकाएजस्तो लाग्थ्यो । मेडिकलमा बच्चा पाउँदा किशोरीले हिसाब गरेजस्तो सहजै बताइन् । भन्छिन्, “अलिकति बल गर्नेबित्तिकै बच्चा जन्म्यो ।”
छविलाल पनि मेडिकलमा कुनै औषधी नदिएको दाबी गर्छन् । तर लालबहादुर मेडिकल पुग्दा बच्चालाई प्लास्टिकमा बेरेर राखिएको थियो । छविलालको दाबीलाई उनले इन्कार गरेका छन् ।
घटना हुँदाको दिन शनिबार भएकाले गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे वडा– २ को अनौपचारिक भेटघाट कार्यक्रममा थिइन् । नेपाली कांग्रेसबाट जितेकी जनप्रतिनिधि लक्ष्मी गाउँमा जघन्य अपराध घटेछ भन्दै ३ बजे एसपी दीपकराज जोशीलाई खबर गरेको बताउँछिन् ।
लक्ष्मीका अनुसार किशोरीलाई पहिले भरतपुर सरकारी अस्पताल र त्यसपछि भरतपुर सामुदायिक अस्पताल लगियो । दुवै ठाउँमा पीडितलाई जाँच्न नमानेपछि अन्ततः पुरानो मेडिकल कलेजमा भिडियो एक्सरे भयो । दुवै अस्पतालमा पीडितलाई उपचार गर्न नमान्नुको स्पष्ट कारण अध्यक्ष लक्ष्मीसँग छैन । उनले किशोरी स्वस्थ रहेको दाबी गरे पनि अस्पतालबाटै रिपोर्ट नआएको स्रोतले बतायो ।
किशोरी आफ्नै मर्जीले घरमा बसेको किशोरकी आमाको दाबी छ । किशोरका आमाबुबा पथरी खोलामा गिट्टी कुट्ने काम गर्छन् । किशोरीका बुबा पनि घर बनाउने ज्यामी हुन् । दुवै परिवार दलित समुदायका हुन् । अध्यक्ष लक्ष्मी पीडितका बुबाआमाले ‘हामी गरिब छौँ, मुद्दा–मामिला जान्दैनौँ’ भनेपछि मेलमिलाप गरेर समस्या सल्टिएको बताउँछिन् ।
गाउँ प्रमुख लक्ष्मी किशोरीको दिदीले पनि करिब ६ महिनाको गर्भ बोकेको भन्दै घटनालाई सामान्य पार्न खोज्छिन् । उनका अनुसार किशोरीको असारमै मासिकस्राव सुरु भएको थियो । विवाह गर्ने उमेर २० वर्ष रहेकोबारे समेत किशोरी अनभिज्ञ छिन् । अबउप्रान्त स्कुल नजाने र किशोरकै घरमा बस्ने किशोरी बताउँछिन् ।
लालबहादुर र छविलालले वडा–१ को कार्यालयमा दुवैका आमाबुबालाई बोलाएर मेलमिलाप गरेको प्रधानाध्यापक भण्डारीको भनाइ छ । प्रधानाध्यापकले किशोरीको स्वास्थ्य धरापमा नपारौँ भन्दै बारम्बार ताकेता गर्दा पनि परिवार र सम्बन्धित व्यक्तिले खासै चासो नदेखाएको गुनासो गर्छन् ।
लालबहादुर भने आफू स्थानीय निकायको मेलमिलापकर्तासमेत भएकाले हरिबहादुर परियार, ज्योति लाल र नरमाया गुरुङसहित दुवैको परिवार राखेर मेलमिलाप गराएको तर्क गर्छन् । तर कागजमा आफूले हस्ताक्षर नगरेको उनको दाबी छ । भन्छन्, “केटा–केटी र दुवैको परिवारले एकअर्कालाई स्वीकारेपछि हामीले के भन्ने हो र ? तर आधिकारिक मेलमिलाप गराएको होइन । २० वर्ष कटेपछि बिहे गर्ने सहमति भएको छ । मुद्दा कतै दर्ता गरेको छैन ।”
प्रधानाध्यापक भण्डारीका अनुसार ८ कक्षा पढ्ने किशोरले गत वर्ष नै विद्यालय छाडेका हुन् । तर लालबहादुरले भने किशोरले हिरासतमै बसेर ८ कक्षाको जाँच दिइरहेको बताउँछन् । प्रहरीले अनुसन्धानमा केही कुरा नबताउने अनि पीडित परिवार आर्थिक रूपले निकै नै कमजोर भएको र कानुनी प्रक्रिया केही थाहा नभएकाले समस्या झन् बल्झिएको छ ।
यस्तै, बच्चा गाडेकै दिन मुचुल्का उठाउनुपर्छ भन्दै आएको प्रहरीले गाडेको ठाउँबाट बच्चा निकालेर सदरमुकाम कावासोती लगेको थियो । भोलिपल्ट २५ फागुनमा गिरफ्तार गरिएका किशोरमाथि प्रहरीले यौन शोषणको मुद्दा लगायो । लालबहादुरले नै त्यसमा हस्ताक्षर गरेका थिए ।
अर्को किशोरलाई पनि प्रहरीले हिरासतमा राखेको थियो । ती नाबालक किशोरीकै दिदीलाई गर्भाधान गराएको आरोपमा समातिएको लालबहादुर बताउँछन् । पीडित किशोरी केही दिनपछि नै किशोर घरमा आउनेमा ढुक्क देखिन्छिन् ।
अधिवक्ता बाबुराम अर्यालका अनुसार यसमा बालबालिकासम्बन्धी ऐन, ०७५ र मुलुकी देवानी संहिता, ०७४ आकर्षित हुन्छन् । बालबालिकासम्बन्धी ऐन, ०७५ को परिच्छेद २ मा बालबालिकाको अधिकारअन्तर्गत ७ मा संरक्षणको अधिकार छ । परिच्छेद ८ को (ज) मा बालयौन शोषण गर्ने वा गराउनेलाई कारबाही हुने उल्लेख छ । परिच्छेद ५ को उपदफा (१) बमोजिम नियन्त्रणमा लिइएको बालबालिकालाई सम्भव भए बालमनोविज्ञ वा बालहितसम्बन्धी काम गर्ने व्यक्तिसँग सम्पर्क गराई आवश्यक परामर्श सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
मुलुकी देवानी संहिता, ०७४ अनुसार परिच्छेद ११ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुनेछ । सम्बन्धित व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
यी कानुनका बाबजुद पनि पीडित किशोरी बुहारी बनेर किशोरको घरमा बसिरहेकी छन् । पीडितको मञ्जुरीले यौन सम्बन्ध भए पनि त्यो गैरकानुनी हो । उनको स्वास्थ्यस्थितिबारे स्पष्ट रिपोर्ट कसैसँग छैन ।
छविलालले सुरुमा पीडितको उपचार गराएकाले प्रहरीले कारबाही गर्नुको सट्टा घटनालाई लुकाउन खोजेको स्पष्ट छ । किशोरलाई प्रहरी हिरासतमा मनोचिकित्सकको परामर्शबिना राख्नु कति उचित छ ? त्यसमा गाउँपालिका अध्यक्ष, वडा सदस्य र वडा अध्यक्षले पीडित किशोरीको स्वास्थ्यभन्दा पनि घटना लुकाएर मेलमिलाप गराएको देख्दा पदको दुरुपयोग भएको आशंका छ ।

Page 19
Page 20
प्रदेश २

उपेन्द्र अब कता ?

सत्ताबाट बाहिरिनासाथ मधेसमुखी गतिविधि
- अजित तिवारी
उपेन्द्र यादव , तस्बिरहरू : अजित तिवारी

२५ फागुनमा छोरा दीपेश (अमरेन्द्र) यादवको विराटनगरमा टीकाटालो गरेर काठमाडौँ फर्किएका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव २ चैतमा दलका केन्द्रीय सदस्य महाजन यादवका छोराको बिहे रिसेप्सनमा सहभागी हुन जनकपुर पुगे । ३ फागुनमा विराटनगरमै पार्टी विस्तार तथा सुदृढीकरण (बिसु) अभियानमा उपस्थित नेता यादव १६ फागुनमा जनकपुर पुगेर दुई दिन बसे ।
संघीय सरकारमा मन्त्री हुँदा पनि यादवको मधेस भ्रमण बाक्लै थियो । तर सरकारबाट बहिर्गमनपछि उनले मधेसमा थालेको सघन दौडधूप भने अर्थपूर्ण छ । संघमा सत्तारोहण र बहिर्गमन गर्दा संविधान संशोधनकै कार्ड प्रयोग गरेका नेता यादव अहिले त्यही मुद्दामा मधेसलाई तरंगित बनाउन खोजिरहेका छन् ।

सडक आन्दोलनको मुड : ३ माघमा समाजवादीले जनकपुरबाट थालेको बिसु अभियान उद्घाटन कार्यक्रममा सोही पार्टीबाट निर्वाचित प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘हाम्रो पकडमा न शासन छ, न त प्रशासन । कसरी चल्छ प्रदेश’ भन्ने प्रश्न उठाएपछि अध्यक्ष यादवले संघीयतामाथि टिप्पणी गर्दै भने, ‘सिंहदरबार निर्देशित यस्तो संघीयताको कुनै काम छैन ।’
आफूहरूकै नेतृत्वमा मधेस आन्दोलनले संघीयता ल्याए पनि संघको हस्तक्षेपका कारण काम गर्न नसकिएको भन्दै केन्द्रको विरोध गर्दै आइरहेका मुख्यमन्त्री राउतले शीर्ष नेता यादवलाई पनि त्यही गुनासो सुनाए । १४ जेठ ०७४ मा सिंहदरबार छिरेर करिब २ वर्ष नेकपासँग केन्द्रीय सत्ता साझेदारी गरी ८ पुसमा सरकारबाट बाहिरिएको समाजवादी पार्टी ‘संविधान संशोधनका लागि दबाब दिन, एक लाख सदस्यता थप्न र आन्तरिक शुद्धीकरण’ लगायतका एजेन्डा बोकी मधेस झरेको हो । संशोधनको मुद्दामा मधेस तरंगित पार्न पनि यादव अहिले पारिवारिक कार्यक्रममा समेत सरिक हुन थालेका छन् ।
नेता यादव सहमति गरेर संविधान संशोधन नगर्नु राजनीतिक बेइमानी भएको आरोप लगाउँछन् । “संशोधन नगर्ने हो भने यही संविधानले मुलुकमा आएको लोकतान्त्रिक गणतन्त्र, संघीयता र परिवर्तनलाई समाप्त पार्छ,” यादवले नेपालसँग भने, “संवैधानिक एवं संसदीय प्रक्रिया तथा लोकतान्त्रिक विधिबाट संविधान संशोधन गर्ने हाम्रो प्राथमिकता र प्रयास हो । यदि संसदीय र संवैधानिक बाटो अवरुद्ध भयो भने जनआन्दोलन, जनविद्रोह र जनक्रान्ति नै हुने हो ।”
संघीयता पक्षधर राजनीतिक धारलाई गोलबन्द गरिरहेको यादवको दल समाजवादी पार्टीले पछिल्लो समय राष्ट्रिय जनता पार्टी (राजपा) सँग मिल्न जोडबल गर्दै छ । राजपासँग एकीकरण गरेर समाजवादीको नेतृत्वमा रहेको प्रदेश २ को सरकार ‘सुरक्षित’ पारेर संशोधनकै मुद्दामा मधेसलाई फेरि आन्दोलनमा होम्ने तयारी यादवको देखिन्छ । उनले त्यसको संकेत पनि दिए, “जहाँ–जहाँ जनताको भावनाअनुसार शासक चलेनन्, जनताले संघर्ष गरे पनि शासकहरू मानेनन्, त्यहाँ–त्यहाँ विद्रोह भएका छन् । त्यसलाई कसले रोक्न सक्छ र !”
समाजवादी पार्टीले संविधानका १३ वटा प्रावधान फेर्नुपर्ने अडान राख्दै संशोधनका लागि सरकारमाथि दबाब दिन सडक संघर्षलाई नै प्राथमिकतामा राखेको देखिन्छ । त्यसका लागि पनि समाजवादीले राजपासँग सामीप्यता बढाउन खोजेको छ । राष्ट्रिय सभाको निर्वाचनमा नेकपा–राजपा गठबन्धन बनेपछि प्रदेश २ को सत्ता समीकरण फेरिने अड्कल पनि समाजवादी–राजपा एकीकरण प्रयासले पर धकेलिदिएको छ ।
यादवको मधेस दौडधूपका दुई कारण बताउँछन्, मधेस मामिलाका जानकार चन्द्रकिशोर । पहिलो– संघीय सरकारमा नेकपासँग हात मिलाउँदा यादवको मधेसमा खस्किएको विश्वासलाई फेरि कायम गर्ने । दोस्रो– संघीय सरकार र राजपा दुवैमाथि राजनीतिक दबाब बढाउने । “संघीय सरकारमा जाँदा उपेन्द्रको राजनीतिक इमेजमा ह्रास आयो । त्यसलाई रि–गेन गर्न बहिर्गमनपछि मधेसमा बढी समय दिइरहेका छन्,” विश्लेषक चन्द्रकिशोर भन्छन्, “मधेसमै सक्रिय छु । मेरै पार्टी गतिशील छ । पिपल टु पिपल सम्बन्ध मेरै छ भन्ने सन्देश दिन चाहेका छन् ।”
यादवलाई प्रदेश २ मा गतिविधि बढाउन र सांगठनिक काममा रफ्तार दिन आफ्नै दलको नेतृत्वमा रहेको प्रदेश सरकारको भरथेग छ । अर्का विश्लेषक विजय मिश्रका अनुसार प्रदेश २ मा समाजवादीलाई संगठन बलियो र विस्तारका लागि प्रदेश सरकार पनि ठूलो अस्त्र बनेको छ । “पार्टीको कार्यक्रम वा अभियानमा मुख्यमन्त्री र मन्त्रीहरू यादवसँगै हिँडेपछि सरकारी साधन–स्रोतको उपलब्धता त छँदै छ,” विश्लेषक मिश्र भन्छन्, “नेता–कार्यकर्तालाई सरकारी योजना र बजेटमा झन् सहज पहुँच पनि छ ।”


विश्लेषक मिश्र भने यादवको लगालग मधेस भ्रमणलाई सत्तामा हुँदा मतदाताले गरेका टिप्पणीको सफाइ दिने अवसरसमेत रहेको औँल्याउँछन् । “यादवको अभियान मधेससँग सम्बन्ध नवीकरण गर्ने प्रयास पनि हो । सीके राउत धार बलियो देखिएपछि त्यसलाई चिर्न पनि यादवले मधेसमा बढी समय दिइरहेका छन् । यसमा नयाँपन केही छैन । आरोपलाई सफाइ दिने अवसर मात्र हो,” मिश्र भन्छन्, “मुद्दाबिनाको नेता हुँदैन । सरकारमा हुँदा मुद्दा उठाएजस्तो गरे पनि बाहिरिँदा त्यही मुद्दालाई नै चर्काउँछन् ।”

१३ बुँदामा संशोधन : समाजवादी पार्टीकै नेपाल बौद्धिक पेसाकर्मी महासंघले जनकपुरमा आयोजना गरेको ‘संविधान संशोधनको अपरिहार्यता’ कार्यशालामा उसले संविधानको १३ वटा बुँदामा असहमति राख्दै संशोधनका लागि संसद् र सडक उपयोग गर्ने रणनीति सार्वजनिक गरेको हो । पार्टी उपाध्यक्ष नवराज सुवेदीले संविधानमा संशोधन गर्नुपर्ने १३ वटै बुँदा सार्वजनिक गर्दै प्रदेशको संख्या र सीमा, नागरिकता, शासकीय स्वरूप, राष्ट्रिय सभा सदस्य चयन प्रक्रिया, धर्म निरपेक्षता, न्यायालय र न्यायाधीश नियुक्ति प्रक्रिया, सरकारी कामकाजको भाषा, प्रदेश प्रहरी र कर्मचारी भर्तीसम्बन्धी संवैधानिक प्रावधान फेर्न संविधान संशोधन गर्नुपर्ने अडान सार्वजनिक गरे ।
पहिचान र सामर्थ्यका आधारमा १० प्रदेश, शिल्पी र दलित गैरभौगोलिक गरी थप १ प्रदेशसहित ११ प्रदेश उपयुक्त रहेको समाजवादीको धारणा छ । प्रदेशको संख्या सम्बन्धमा राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँट समिति र उच्चस्तरीय राज्य पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन नै वैज्ञानिक रहेको उसको ठहर छ । ‘नवलपरासीदेखि कैलाली र कञ्चनपुरसम्मको थारु बाहुल्य क्षेत्रको छुट्टै प्रदेश बनाउनुपर्छ,’ सुवेदीको कार्यपत्रमा भनिएको छ, ‘झापा, मोरङ र सुनसरीको सबै भूभाग प्रदेश १ मा राख्नु हुँदैन । यी सबै मिलाउन प्रदेशहरूको पुनः सीमांकन संविधान संशोधनबाटै हुनुपर्छ ।’
प्रदेशको सीमा हेरफेर हुँदा वा गाभिँदाको संवैधानिक व्यवस्था जटिल रहेको भन्दै समाजवादीले खुकुलो बनाउन माग गरेको छ । यस्तो अवस्थामा प्रदेश व्यवस्थापिकाबाट दुई तिहाइ बहुमतको निर्णयलाई संघीय संसद्को दुई तिहाइ बहुमतले अनुमोदन गर्नुपर्ने प्रावधान संविधानमा उल्लेख गर्न उसको जोड छ ।
विद्यमान शासकीय स्वरूपमा पनि परिवर्तनको नयाँ एजेन्डा समाजवादीले अघि सारेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली तथा पूर्ण समानुपातिक संसद् रहने व्यवस्थाका लागि संविधान संशोधन गर्नुपर्ने उसको तर्क छ । यस्तै, राष्ट्रिय सभालाई ‘हाउस अफ नेस्नालिटिज’ को स्वरूप दिन र संविधानको धारा ४ मा रहेको धर्म निरपेक्षताको सन्दर्भमा जोडिएको प्रस्टीकरणको प्रावधान हटाउन पनि माग गरिएको छ ।
संविधानको धारा ७ ‘क’ मा रहेको सरकारी कामकाजको भाषा ‘देवनागरी नेपाली भाषा’ हुनेछ भन्ने वाक्यांशमा पनि समाजवादी पार्टीको आपत्ति छ । अन्य भाषा सरकारी भाषा हुनै नसक्ने अर्थ लागिरहेको व्याख्या गर्दै पार्टीले ‘देवनागरी नेपाली वा उक्त प्रदेश र क्षेत्रमा बोलिने बाहुल्य भाषासमेत कामकाजी भाषा हुने’ उल्लेख गर्न माग गरेको छ ।

Page 21
Page 22
Page 23
विशेष

महामारीको दिक्दारी

सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म कोरोना भाइरसको मनोवैज्ञानिक सन्त्रास
- कल्पना भट्टराई

कोरोनाको आशंकामा ठमेलबाट टेकु अस्पतालमा जाँचका लागि एम्बुलेन्सबाट आएका विदेशीहरूको सामान वार्डमा लग्दै स्वास्थ्यकर्मी

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा सागरराज भण्डारीले आफूलाई ‘कोरोना अस्पतालका डाइरेक्टर’ का रूपमा चिनाउन थालेका छन् । ३ चैत दिउँसो नेपाल प्रतिनिधि टेकु अस्पताल पुग्दा उनी कोभिड–१९ को त्रासमा रहेका डाक्टर र नर्सहरूलाई काउन्सिलिङ दिएर भर्खरै कार्यकक्ष फर्किएका थिए ।
चीनको वुहानबाट फैलिएको महामारी कोरोना भाइरसको उपचारमा संलग्न थुप्रै स्वास्थ्यकर्मीको मृत्यु भएको थियो । भारतमा मात्रै ४३ स्वास्थ्यकर्मीलाई संक्रमण भएको छ । इटालीमा ३ हजार स्वास्थ्यकर्मी संक्रमित छन् । कोरोना प्रभावित देशहरूबाट फर्किएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकामा जाँच गर्दा रुघाखोकी र ज्वरो देखिए सीधै टेकु अस्पताल पठाउने गरिएको छ ।
अन्य सरुवा रोगभन्दा दस गुणा बढी सर्ने सम्भावना भएको कोरोनाबाट स्वास्थ्यकर्मी जोखिममा देखिएका छन् । विभिन्न सूचनाले आतंकित स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न दैनिक परामर्श दिने गरिएको डा भण्डारी बताउँछन् । भन्छन्, “स्वास्थ्यकर्मी त्रासमा भए पनि काममा निरन्तर लागिरहेका छन् ।”
ती व्यक्तिलाई आइसोलेसन (अरू बिरामीबाट अलग राख्ने प्रक्रिया) मा भर्ना गरेर नमुना परीक्षण गरिएको छ । निर्देशक डा भण्डारीका अनुसार कोरोना भाइरस हो कि होइन भन्ने थाहा पाउन र अन्य बिरामीमा संक्रमण हुन नदिन अहिले ५ बेडको छुट्टै आइसोलेसन वार्ड बनाइएको छ । त्यसमा दुई बिरामी छन् भने एक जना आईसीयुमा छन् ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको मनोवैज्ञानिक त्रास सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म छ । तर टेकु अस्पतालमा बिरामी त परै जाओस्, एप्रोन लगाएका डाक्टर र नर्स बिनामास्क खुलेआम घुमिरहेका देखिन्छन् । सरकारले बजारमा सहजै मास्क पाइने प्रबन्ध गर्न सकेको छैन ।
सरकारी तथा निजी अस्पतालले रुघाखोकी लागेकालाई पनि इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) को परीक्षण नगरी कोरोना आशंका गरी टेकु अस्पताल पठाउने गरेका छन् । ३ चैतमा रुघाखोकी र ज्वरोको उपचार गराउन जाँदा चतुर्भुज घिमिरेलाई बी एन्ड बी अस्पताल ग्वार्कोले कोरोनाको आशंकामा टेकु पठाइदियो । उनी आत्तिँदै अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाको कार्यकक्ष छिरे । डा अनुप सुनाउँछन्, “अस्पतालले रुघाखोकीका बिरामीको इन्फ्लुएन्जासमेत परीक्षण नगरी पठाउँछन्, यति कुरा त बुझ्नुपर्ने हो ।”
हुन पनि बिरामीलाई परामर्श दिन नसकेर नर्सहरू डराएका देखिन्छन् । उनीहरू पटक– पटक अस्पतालका प्रवक्ताको कक्षमा पसे । आइसोलेसन कक्षमा छुट्टै विशेषज्ञ खटाउनुपर्ने भए पनि डाक्टरहरूले अन्य सरुवा रोग लागेका बिरामीको पनि चेकअप गर्नु परेको छ ।
मौसम परिवर्तनसँगै अहिले रुघाखोकी र ज्वरोका बिरामी बढिरहेका छन् । स्वास्थ्यकर्मीहरूले सामान्य रुघाखोकी र ज्वरोलाई पनि कोरोना ठान्न थालेकाले बिरामीलाई दैनिक परामर्श दिएर पठाउने गरेको सुनाउँदै अनुप भन्छन्, “डाक्टरलाई पनि काउन्सिलिङ गर्नुपर्ने अवस्था आयो ।”
कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएका व्यक्ति पनि घर नफर्की टेकु अस्पतालकै क्वारेन्टाइनमा बस्ने गरेका छन् । आइसोलेसन कक्षमा छुट्टाछुट्टै बस्नुपर्छ । आफन्त पनि भेट्न पाइँदैन ।

एकान्तबासमा उपचारकर्मी : कोरोना आशंकामा आइसोलेसनमा भर्ना भएका बिरामीको उपचार गरिरहेका डा विकेश श्रेष्ठ परिवारसँग बस्दैनन् । भन्छन्, “परिवार संक्रमित नहोस् भनेर एक्लै बस्ने गरेको छु ।” विकेशका अनुसार बिरामी आइसोलेसनमा भर्ना भएदेखि नमुना परीक्षणको रिपोर्ट नआउँदासम्म रोगको पुष्टि हुँदैन ।
विश्व स्वाथ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसारको पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) लगाएर बिरामीे उपचार गरिए पनि संक्रमणबाट शतप्रतिशत सुरक्षित नहुने डा श्रेष्ठको भनाइ छ । भन्छन्, “कोरोना संक्रमित धेरै बिरामी आएको भए हामीलाई पनि संक्रमण हुन्थ्यो, डर लागे पनि उच्च आत्मविश्वासका साथ काम गरिरहेका छौँ ।”
आइसोलेसन कक्षमा बिरामीको जाँच गर्ने डा विकेश जनरल वार्ड र ओपीडीका बिरामी पनि हेर्छन् । आइसोलेसन इन्चार्जसमेत रहेकी अस्पताल नर्सिङ निरीक्षक बेली पौडेल पनि घरको छुट्टै कोठामा बस्छिन् । “आफूलाई सरे पनि परिवारका सदस्यलाई नसरोस् भनेर उनीहरूको नजिक जाँदिनँ, पीपीई लगाउँदा र खोल्दा सामान्य त्रुटि भए पनि सर्ने सम्भावना हुन्छ,” उनी भन्छिन्, “घरमा छुट्टै बसे पनि अस्पताल जाँदा र आउँदा बस चढ्नुपर्छ ।”
आइसोलेसन वार्डमा रहेका बिरामी र स्वास्थ्यकर्मीलाई समेत काउन्सिलिङ गरिरहेका अस्पतालका प्रवक्ता डा बाँस्तोला भन्छन्, “अस्पताल बसेका ५५ जना कोरोना पोजेटिभ भेटिएको भए हामी पनि संक्रमित भइसक्थ्यौँ ।” अहिले सुरक्षाका लागि १ हजार पीपीई मात्रै मौज्दात रहेको उनको भनाइ छ ।
काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै कोरोना परीक्षण हुन्छ । ल्याब परीक्षणबिना कोरोनाबारे यकिन हुँदैन । कोरोना यकिन गर्न बिरामीको मुख र नाकको र्‍यालको नमुना परीक्षण गरिन्छ ।
कोरोनाको त्रासबीच प्रयोगशालामा स्वास्थ्यकर्मीहरू निरन्तर काम गरिरहेका छन् । प्रयोगशालाका माइक्रो बायोलोजिस्ट डा रञ्जित शाह त्रास फैलिएदेखि आफन्त र साथीहरू नजिक नै नपरेको अनुभव सुनाउँछन् ।
कोरोना प्रभावित देशबाट फर्किएका व्यक्तिको नमुना परीक्षण गर्दा सामान्य लापरबाही भए पनि संक्रमण हुन सक्ने खतरा हुन्छ । डा शाह भन्छन्, “जोखिमपूर्ण इन्फ्लुएन्जासहित विभिन्न संक्रमण फैलिने रोगको परीक्षण गर्दै आएकाले अभ्यस्त छौँ, संक्रमण फैलिए पनि काम छाड्ने छैनौँ ।”
३ चैतमा स्वास्थ्यकर्मीको आत्मविश्वास बढाउन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले चिकित्सक र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरिसकेको छ ।

५ सय ३० नमुना नेगेटिभ : १० माघ ०७६ देखि ५ चैतसम्म कोरोनाको आशंकामा परीक्षण गरिएका ५ सय ३० नमुना नेगेटिभ देखिएका छन् । तीमध्ये चीनको वुहानबाट फर्किएका एक जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो । उपचारपछि उनी निको भइसकेका छन् ।
प्रयोगशालाका प्रवक्ता डा राजेशकुमार गुप्ताका अनुसार परीक्षण गरिएका प्रत्येक तीन वटा नमुनामा इन्फ्लुएन्जा देखिएको छ । नेगेटिभ देखिएका प्रत्येक दुइटामा पनि कोरोना जाँच गर्दा नेगेटिभ देखिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको बायोसेफ्टी ल्याब ‘टु’ र ‘थ्री’ रहेकाले परीक्षणमा शंका गर्ने ठाउँ नभएको गुप्ता बताउँछन् । भन्छन्, “नमुना क्रस चेकका लागि हङकङ पठाउँदा पनि त्यही रिपोर्ट आयो । ल्याब परीक्षणमा कुनै खराबी छैन ।”
प्रयोगशालाले दैनिक ६ सय जनाको परीक्षण गर्न सक्छ । १ हजार ५ सयको परीक्षण गर्ने क्षमता भए पनि जनशक्ति अभाव रहेको उनी बताउँछन् । “आवश्यक परे ६ जनालाई तयारी हालतमा राख्न सक्छौँ,” गुप्ता भन्छन्, “चार वटा पीसीआर मेसिनबाट नमुना परीक्षण भइरहेको छ, तीन वटा परीक्षणका लागि तयारी अवस्थामा छन् ।” वुहानबाट फर्किएका १ सय ७९ नेपालीको परीक्षण गरिसकेकाले स्वास्थ्यकर्मीको मनोबल उच्च रहेको उनको बुझाइ छ । भन्छन्, “महामारी फैलिए पनि कोरोनासँग लड्न तयार छौँ ।”

टेकु अस्पतालमा वार्डको सफाइ गर्दै स्वास्थ्यकर्मी

बिरामी सरुवा : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको जनरल वार्डमा राखिएका बिरामी सार्ने तयारी गरिएको छ । विभिन्न अस्पतालले कोरोना आशंकामा बिरामी पठाउन थालेपछि जनरल वार्डका ४० बिरामीलाई वीर अस्पताल र टिचिङमा सार्ने तयारी भएको अस्पतालका निर्देशक डा सागरराज भण्डारी बताउँछन् ।
कोरोना संक्रमित पनि अस्पतालमा आउन सक्ने भएकाले अन्य बिरामीलाई संक्रमण नहोस् भनी सार्न लागिएको हो । डा भण्डारी भन्छन्, “टेकु अस्पतालमा कोरोना बिरामीको मात्रै उपचार गराउने तयारी गरिरहेका छौँ ।”
अस्पताल प्रशासनका अनुसार टेकु अस्पतालमा ५ वटा आइसोलेसन र ३ वटा आईसीयु कक्ष रहेका छन् । २० वटा आइसोलेसन कक्ष, ४० क्वारेन्टाइन र १० वटा आईसीयु थप्न लागिएको छ । अस्पतालमा २ सय ४२ स्वास्थ्यकर्मी कार्यरत छन् भने आइसोलेसन कक्षमा २० जनालाई खटाइएको छ ।

तयारी के छ ? : सरकारले कोभिड–१९ का संक्रमितको उपचार गर्न काठमाडौँ उपत्यकामा १ सय २० र बाहिर १ सय १५ वटा आईसीयु थप्ने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार वीर अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र टेकु अस्पतालमा कोरोना उपचारका लागि आईसीयु विस्तार गर्ने तयारी छ ।
विश्वभर महामारीको रूप लिइसकेको कोरोना नेपालमा नदेखिए पनि छिमेकी भारतमा संक्रमितको संख्या बढ्न थालेपछि सतर्कता बढाइएको हो । मन्त्रालयले बजेटको सुनिश्चितता सरकारले गर्ने भन्दै तयारी प्रक्रिया अघि बढाउन अस्पताललाई निर्देशन दिएको हो । यी चार अस्पतालले आईसीयु थप्नका लागि ७३ करोड ८० लाख रुपैयाँ माग गरेका छन् ।
सशस्त्र प्रहरी अस्पतालले २० बेडको आईसीयु ब्लक तयार गर्नेछ । वीर र पाटन अस्पतालले पनि २० बेडको थप आईसीयु विस्तार तथा फर्निचर, उपकरण र मर्मतका लागि रकम माग गरेका छन् । त्यसैगरी टेकु अस्पतालले १० बेडको आईसीयु विस्तार र जनशक्ति व्यवस्थापनका लागि बजेट माग गरेको छ ।
कोरोनाको महामारी फैलिएको अवस्थामा उपचारका लागि विद्युत् प्राधिकरणको भक्तपुरस्थित खरिपाटीमा १ हजार बेडको अस्पताल बनाउने तयारी थालिएको छ । यसअघि चीनबाट फर्किएका विद्यार्थीर् राख्न बनाइएको खरिपाटीलाई नै क्वारेन्टाइन अस्पतालमा परिवर्तन गर्न लागिएको हो । महामारी फैलिएको अवस्थामा अन्य बिरामीमा समेत संक्रमण फैलिने र झन् जटिलता थपिन सक्ने खतरालाई ध्यानमा राखी छुट्टै अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटा बताउँछन् । भन्छन्, “एक साताभित्रै आईसीयुसहितको अस्पताल निर्माण हुन्छ ।” प्रधानमन्त्री केपी ओलीले मिर्गौला प्रत्यारोपण गरी निजी निवास बालुवाटार फर्किएपछि छुट्टै अस्पताल बनाउन निर्देशन दिएका थिए ।
मन्त्रालयले अस्पताललाई एक साताभित्र प्रक्रिया पुर्‍याएर टेन्डर प्रक्रियामा जान पत्राचार गरिने जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटा कोभिड–१९ संक्रमण देखिए उपचारको जिम्मा राज्यले लिने बताउँछन् । भन्छन्, “हामी नेपालमा संक्रमण छिर्नै नदिने गरी तयारीमा लागेका छौँ र संक्रमण भइहाले उपचारमा कमी हुन दिने छैनौँ ।” मन्त्रालयले कोरोना सं‌ंक्रमणको परीक्षण गर्ने स्वास्थ्यकर्मीका लागि २० हजार थान सेफ्टी (पीपीई) किन्ने निर्णय गरिसकेको छ ।

‘पहिलो जोड परीक्षणमै’

विज्ञहरूले कोरोनाको जोखिम, रोकथाम तथा नियन्त्रणका लागि सरकारको तयारी कमजोर भएको आरोप लगाएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनी सरकारले छिटो थाहा पाएर पनि पूर्ण तयारी नगरेको बताउँछन् ।
डा मरासिनीका अनुसार कोरोनाबाट बच्न सरकारले पहिलो प्राथमिकताका रूपमा परीक्षण र निगरानीमै विशेष जोड दिनुपर्छ । दोस्रो– कोरोना भाइरसबारे सही सूचनाको प्रवाहलाई बढाउनुपर्छ । तेस्रो– सरकारसँग सर्भिलेन्स र रेस्पोन्स प्लान हुनुपर्छ । चौथो– कानुनी ढाँचा (लिगल फ्रेमवर्क) बनाउनुपर्छ ।
आइसोलेसन र क्वारेन्टाइनमा बस्न नमान्नेका लागि सरकारले कानुन बनाउनुपर्ने उनको सुझाव छ । “आइसोलेसन र क्वारेन्टाइनमा बस्न नमान्नेका लागि सरकारले कानुन नै बनाउनुपर्छ,” भन्छन्, “यसले कोरोनाको जोखिम र क्षति घटाउनुका साथै समयमै नियन्त्रण गर्न सघाउँछ ।”
डा मरासिनी कोरोनाको संक्रमण फैलिन नदिन सरकारले छुट्टै अस्पताल बनाउन ढिलाइ गर्न नहुने बताउँछन् । सबै बिरामीलाई एकै ठाउँ राखेर उपचार गर्न नहुने उनको तर्क छ । भन्छन्, “कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मीलाई पनि छुट्टै राख्नुपर्छ । उनीहरूको मनोबल बढाउन तालिम दिनुपर्छ, त्यसो नभए स्वास्थ्यकर्मी नै अस्पताल छाडेर भाग्ने दिन आउँछ ।”

 

टेकु जानै मान्दैनन् बिरामी

पश्चिम नवलपरासीको रामग्राम–१६ हकुईका दिनेश चौधरी आफन्तसहित ४ चैतमा परासीको पृथ्वीचन्द्र अस्पताल पुगे । रुघाखोकी, ज्वरो आएर श्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्समा जिल्लाको सरकारी अस्पताल आएका चौधरीको एक्सरे हेर्दा फोक्सोमा दाग देखियो । अक्सिजन कम हुँदै गएपछि कोरोनाको आशंका गर्दै लुम्बिनी प्रादेशिक अस्पताल
बुटवल पठाइयो ।
प्रादेशिक अस्पतालले आइसोलेसन बेड खाली नभएको भन्दै चितवन मेडिकल कलेज लैजान सुझायो । चौधरी ५ चैत बिहान २ बजे चितवनको पुरानो मेडिकल पुगे । अस्पतालले टाइफाइड र डेंगु परीक्षण गर्‍यो । तर कोरोनाको आशंका गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लैजान सुझाएको थियो । सबै अस्पतालका डाक्टरले कोरोनाको आशंका गर्दा डराएर टेकु नपुर्‍याई वीर अस्पताल पुर्‍याएको बिरामीका आफन्त सञ्जय गुप्ता बताउँछन् । वीर अस्पतालले पनि रिपोर्ट मात्रै हेरेर टेकु अस्पतालमै पठायो । तर परिवारले उक्त अस्पताल नलगी कलंकीस्थित एक निजी अस्पताल पुर्‍याए । त्यसपछि बिरामी फर्काएर रूपन्देहीको क्रिमसन, देवदह मेडिकल कलेज पुर्‍याउँदा पनि अस्पतालले बिरामी भर्ना नगरेपछि पुनः परासीको पृथ्वीचन्द्र अस्पताल पुर्‍याएको गुप्ता बताउँछन् ।
एकपछि अर्कोमा चक्कर लगाउँदा पनि अस्पतालले भर्ना नगरेपछि बिरामीका आफन्त त्रासमा थिए । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको दबाबपछि मात्रै बुटवलको प्रादेशिक अस्पतालले भर्ना लिएको थियो । अहिले अस्पतालको आइसोलेसन कक्षमा राखेर दिनेशको उपचार गरिएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनाल बिरामीको अवस्था स्थिर रहेको बताउँछन् । “बिरामीलाई कडा निमोनिया देखिएको छ,” डा खनाल भन्छन्, “स्वाब परीक्षणका लागि पठाइएको छ, अरू कुरा रिपोर्ट आएपछि थाहा हुन्छ ।”
कोरोनाको आशंकामा अस्पतालमा आएका बिरामीलाई छुट्टै आइसोलेसन कक्षमा राखेर उपचार गर्नुपर्छ । सरकारले बिरामी खोजीखोजी उपचार गर्छौं भने पनि अस्पताल गएकै बिरामी पनि भर्ना हुन सकेका छैनन् ।
अस्पतालमा आइसोलेसन बेड खाली नभएकाले चितवन पठाउनु परेको डा खनाल बताउँछन् । भन्छन्, “स्वास्थ्यकर्मीसमेत त्रासमा रहेकाले बिरामीको समयमै उपचार हुन सकेन ।” सरकारले कोरोनाको उपचारका लागि तयारी गरेको दाबी गरे पनि प्रदेशका अस्पतालमा पर्याप्त मात्रामा आइसोलेसन कक्ष, आईसीयु, पीईई प्रोटोकल र दक्ष जनशक्ति छैनन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वटा मात्रै आइसोलेसन बेड छन् । छुट्टाछुट्टै आइसोलेसन कक्ष हुनुपर्ने भनिए पनि ठाउँ अभावले एउटै कक्षमा सबै बिरामी राख्नु परेको डा खनाल सुनाउँछन् । “सामान्य रुघाखोकीमा पनि अस्पताल धाउने बिरामीलाई काउन्सिलिङ आवश्यक छ ।”

Page 24
Page 25
Page 26
विशेष

जोखिम छ, तर अवसर सामुन्ने छ

कोरोना भाइरसका कारण नेपालको आर्थिक अवस्थामा केही असर पर्न सक्छ । तर पछि आउन सक्ने आर्थिक संकटका अगाडि त्यो केही पनि होइन । औद्योगिक र व्यापारी समुदायले सरकारसँग क्षतिपूर्ति माग्ने होइन, आफ्नो सामाजिक उत्तरदायित्व देखाउने बेला हो ।
- महेश मास्के
मास्क लगाएकी एक युवती परेवासँग 

चीनबाट सुरु कोरोना भाइरसको महामारी विश्वव्यापी फैलिरहेको छ । यसले अमेरिका र युरोपेली मुलुकजस्ता आर्थिक रूपले विकसित र स्वास्थ्य प्रणालीको दृष्टिले सक्षम देशहरूमा समेत त्रास सिर्जना गरेको छ । नेपालमा यसबारे चिन्ता, चासो र त्रास उत्पन्न हुनु स्वाभाविकै हो । तर कतिपय देश यो चुनौती सामना र यसलाई नियन्त्रण गर्न सफल पनि भएका छन् । केही ठाउँमा केही समयका लागि संक्रमित रोगी पूर्ण रूपले स्वस्थ भएका छन् । रोग देखापरे पनि रोगीको संख्या बढ्न दिएका छैनन् । तिनलाई मृत्यु हुनबाट बचाएका छन् वा मृत्यु हुनेको संख्या न्यून स्थितिमा राखेका छन् ।
चीनको वुहानलगायतका ठाउँबाट नेपालीलाई देशमा ल्याउने कि नल्याउने बहस चलिरहेका बेला कान्तिपुर टिभीमार्फत मैले भनेको थिएँ– ल्याउनुपर्छ, यस रोगका विशेषताले गर्दा उनीहरूमा संक्रमणको जोखिम कम छ । नेपालका लागि हामी यो समस्या व्यवस्थापन गर्न सक्षम छौँ भन्ने सन्देश दिने एउटा अवसर हो । अहिले पनि कोरोनाबाट सिर्जित समस्यालाई अवसरमा बदल्न सकिन्छ भन्ने मलाई विश्वास छ ।
हामीले जिब्राल्टर, मकाउ, भियतनाम, केरला, रुस, जोर्डन, नाइजेरिया, भुटान, चिली, आइसल्यान्ड, थाइल्यान्ड, ताइवान, साउदी अरेबियाजस्ता देश, प्रान्त वा सहरबाट लिनुपर्ने शिक्षा के होला ? स्वयं चीनबाट सिक्नुपर्ने कुरा के होला ? नेपालमा अहिलेसम्म एउटै मात्र संक्रमित रोगी देखापरे र ती स्वस्थ पनि बन्न पुगे । तर यो स्थिति निकट भविष्यमै नबदलिएला भन्न सकिन्न ।
के नेपाल पनि कोरोना संक्रमितको संख्या धेरै बढ्न नदिने सफल देशको पंक्तिमा उभिन सक्छ ? विश्व अनुभवले भनिरहेका छन्, ‘सक्छ, यदि हामीले हरसम्भव प्रयत्न गर्‍यौँ भने ।’ नेपाल सरकारका पछिल्ला कदम र सञ्चार माध्यमको प्रयत्नमार्फत जनतामा आएको अभूतपूर्व चेतनाले त्यसैतर्फ संकेत गर्छन् ।
कोरोना भाइरसको खतरासँग जुध्न नेपाल र नेपालीले अहिले हरसम्भव प्रयत्न गर्नुपर्ने बेलामा भर्खरै मिर्गौला प्रत्यारोपण गरी डिस्चार्ज भएका प्रधानमन्त्री केपी ओली र उनका चिकित्सकहरू मास्क नलगाई शुभचिन्तक, सुरक्षाकर्मी र सल्लाहकारबीच न्यूनतम दूरी पनि नराखी अस्पतालबाट बाहिरिएको दृश्य आश्चर्यको विषय भएको छ । उनीहरू सबैले ठीक त्यही गरिरहेका थिए, जुन केही अवधिसम्म नगर्न हामी सबैले आफूलाई अभ्यस्त बनाउन अति आवश्यक छ ।
प्रधानमन्त्री डिस्चार्ज हुने बेलामै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड– १९) विश्वव्यापी महामारीको चरणमा प्रवेश गरेको घोषणा गरिसकेको थियो । कोभिड देखा नपरेका देशमा पनि यो सुषुप्त अवस्थामा छ भन्ने मानेर तयारी गर्नुपर्ने र सतर्कता अपनाउनुपर्नेबारे विज्ञहरू एकमत छन् । नेपाल त चीनबाहिर कोरोनाको संक्रमित देखा परेको पहिलो देशमध्ये हो । त्यसैले अस्पतालबाट डिस्चार्ज हुँदाको मिडिया कभरेज एउटा राम्रो अवसर थियो– सरकार प्रमुखबाट राष्ट्रलाई यो अत्यावश्यक दूरी कायम गर्ने र व्यक्तिगत सतर्कता अपनाउने ठोस व्यावहारिक सन्देश दिनका लागि । तर त्यो मौका चुकेको मात्र होइन, उल्टो सन्देश प्रवाहित भएको छ ।
अस्पतालबाट बाहिर आउनासाथ कोरोनाविरुद्धको सार्क प्रमुखहरूको टेलिकन्फरेन्समा भाग लिनु प्रधानमन्त्री केपी ओलीको सराहनीय कदम हो । कोरोनाले गर्दा विशेषतः अमेरिका र चीनबीचको सम्बन्धमा आएको तिक्तता, आरोप–प्रत्यारोपबीच सार्क क्रियाशील भएको देख्न पाउनु पनि सकारात्मक उपलब्धि हो । त्यसैगरी कोभिड– १९ उच्चस्तरीय समन्वय समितिको आठौँ बैठकका निर्णयहरू र एसईई परीक्षासमेत स्थगन गर्ने निर्णयले जाँचको तयारी गरिरहेका विद्यार्थीलाई केही असुविधा भए पनि नेपालमा कोरोना संक्रमण प्रभावकारी रूपमा नियन्त्रण हुने सम्भावना कैयौँ गुणा बढेको छ ।
मान्छे–मान्छेबीच तथा मान्छे र जनावरबीच दैनिक जीवनलाई असर नपर्ने गरी आवश्यक दूरी कायम गर्नु, त्यस्तो दूरी कायम गर्न अप्ठेरो पार्ने सम्पूर्ण क्रियाकलापलाई स्थितिको गाम्भीर्य र आवश्यकताअनुसार केही समय रोक्नु नै माथि उल्लिखित कोरोना नियन्त्रण गर्ने सफल देशहरूले अपनाएको मुख्य रणनीति हो । यो नै त्यस्तो प्रभावकारी उपाय हो, जसले नेपाललाई कोभिड नियन्त्रण गर्ने सफल देशको पंक्तिमा उभ्याउन सक्छ ।
विदेशीहरूको आवागमन र नेपालीको विदेश भ्रमणमा रोक लगाउनेदेखि सार्वजनिक स्थल, सामाजिक कार्यक्रम र मनोरञ्जन स्थलहरूमा कम संख्यामा मानिस जम्मा हुने, हात नमिलाउने, अँगालो नमार्ने, अनुहार नछुने, एकअर्कासँगको दूरी न्यूनतम एक हात पर हुनुपर्ने, गाउँ–टोल, सहर एवं सडक सफा राख्ने, घर तथा काम गर्ने थलो वा सार्वजनिक यातायातमा व्यक्ति स्वयं र समुदायले अपनाउनुपर्ने सतर्कताका उपाय नै त्यो दूरी कायम गर्ने जनस्वास्थ्यका सन्देश अनि हस्तक्षेपहरू हुन् । यसमध्ये धेरैलाई उच्चस्तरीय समितिको आठौँ बैठकले सम्बोधन गरिसकेको छ ।
त्यसैगरी सबै अस्पताल र आशंका भएका समुदायमा ज्वरो र सुक्खा खोकी आएका बिरामीहरूको सक्रिय रूपले खोज, परीक्षण गरी कोरोना संक्रमित रोगीको पहिचान, निगरानी, उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिको पनि अनुगमन र परीक्षण, संक्रमित रोगीहरूको आइसोलेसन एवं उपचार र आईसीयु तथा भेन्टिलेटरको तयारी अवस्था प्रभावकारी नियन्त्रणको अर्को पाटो हो ।
कोरोनाको उच्च जोखिम ६५ वर्षभन्दा माथिका उमेर समूहमा छ, जसमा हाम्रा आमाबुबा, हजुरआमा, हजुरबुबा वा अन्य ज्येष्ठ नागरिक पर्छन् । उमेरको कारण पनि उनीहरूलाई एकभन्दा बढी रोग लागेको हुन सक्छ र त्यसले कोरोनाको संक्रमण अझ गम्भीर बन्ने र मृत्युसम्म हुने खतरा पनि बढाउँछ । युवा र बालबालिकामा भने यसको संक्रमणको सम्भावना र रोगको गम्भीरता तुलनात्मक रूपले कम छ । तर सतर्कता उनीहरूका लागि पनि आवश्यक छ ।
त्यसैले हाम्रो पहिलो प्राथमिकता घरभित्र र बाहिर, अस्पताल वा वृद्धाश्रममा कोरोनाको उच्च जोखिममा रहेका उमेर समूहप्रति तुलनात्मक रूपले बढी ध्यान दिनु र सतर्कताका सबै कार्य सम्पन्न गर्न अनुकूल वातावरण बनाइदिने हो । धार्मिक स्थलमा हुने भीड र सामाजिक भेटघाट कम गर्नु उनीहरूका लागि त्यस्तो दूरी कायम गर्ने उपाय हुन् । घरपरिवार आफैँ अघि नसरीकन यो कार्य सम्पन्न गर्न सकिन्न । तथापि महाशिवरात्रिजस्ता पर्व र धार्मिक स्थलमा त्यति भीड नदेखिनुले त्यस्तो सामाजिक पहल सुरु भइसकेको संकेत दिन्छ ।
नेपाल भ्रमण वर्ष २०२० फिर्ता लिने, जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गर्ने, विदेशी नागरिकको आवागमन निरुत्साहित गर्ने, प्रयोगशाला परीक्षण र संक्रामक रोग अस्पताललाई सुदृढ गर्ने, नेपालभित्र कोरोनाले उत्पन्न गर्न सक्ने खराब परिस्थितिका लागि तीनै तहमा तयारी गर्ने र माथि उल्लिखित पछिल्ला निर्णयहरू नेपाल सरकारले लिएका एकपछि अर्को महत्त्वपूर्ण कदम हुन् । यीसँगै सचेतना बढाउन सञ्चार माध्यमको प्रभावकारी हस्तक्षेप, विज्ञहरूले गरेको ज्ञान साझेदारी र नेपालीको अभिरुचिको योगले अहिले नेपाली जनमानस जुन किसिमको तयारी अवस्थामा छ, त्यसले यो चुनौतीलाई अवसरमा बदल्ने प्रचुर सम्भावना प्रदान गरेको छ ।
त्यो अवसरको सदुपयोग गर्न सरकारले गर्नुपर्ने थप काममा पहिलो हो– सबै शंकास्पद व्यक्तिको पहिचान गरी ल्याब परीक्षणका लागि प्रेषण गर्न चिकित्सकहरूले अनुसरण गर्नुपर्ने वैज्ञानिक प्रोटोकल जारी गर्नु । संक्रमित रोगी देखापरे उनीहरू र तिनका सम्पर्क व्यक्तिलाई निरीक्षण गर्नका लागि विशेषज्ञहरूको सुपरीवेक्षणमा स्वयंसेवकको समूह परिचालन गर्नु र त्यसका लागि मोबाइल एप्स तथा मोबाइल ट्र××्याकि×ङ× सिस्टम प्रयोग गर्नु ।
दोस्रो– सबै संघीय, प्रदेश र स्थानीय तहका कोभिड– १९ का रोगीहरूलाई उपचार प्रदान गर्ने समर्पित अस्पताल एवं प्रयोगशालाको व्यवस्था गर्दै चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाका सबै उपकरण उपलब्ध गराउँदै संक्रमण भएको खण्डमा उनीहरूको स्वास्थ्य सुरक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता जारी गर्नु तथा उपचारसम्बन्धी अभिमुखीकरण गर्दै उनीहरूको मनोबल उच्च राख्नु ।
तेस्रो– कोरोनाविरुद्धको अभियानलाई समन्वय गर्ने संयन्त्रहरू संघीयदेखि स्थानीय तहसम्म सक्रिय हुनु । नागरिक समाज पनि यो चुनौती सामना गर्न अग्रसर हुनु । कोरोनाबाट त्रास मात्रै होइन, सामाजिक सरसहयोगका प्रेरणादायी उदाहरण पनि देखा परेका छन् । सामाजिक सञ्जाल त्यसको माध्यम हुन सक्छ । आफ्नो खाली रहेका घरका कोठाहरू कोरोना संक्रमितले आश्रय लिन चाहे प्रयोग गर्न निमन्त्रणा दिने भैँसेपाटीका गौतम दम्पती स्तुत्य छन् ।
चौथो– कोरोनाविरुद्धको अभियानलाई नेपालका प्रमुख जनस्वास्थ्य समस्यालाई सम्बोधन गर्न सक्ने जनस्वास्थ्य अभियानमा रूपान्तरित गर्नु ।
पाँचौँ– त्यसभन्दा अझ अघि बढेर प्रकृति र मानव समाजबीचको अन्तरसम्बन्धप्रति घोत्लिनु । कोरोना भाइरस जनावरमा पहिलेदेखि नै थिए, अब मान्छेमा सर्ने स्थिति किन आउन थाल्यो । हाम्रो खुराक र जीवनशैली नयाँ–नयाँ भाइरसको क्रीडास्थल बन्न सक्ने सम्भावनालाई बढाइरहेका छन् भने त्यसबारे पुनर्विचार गर्नु र तिनलाई परिवर्तित गर्नु ।
त्रास हैन, समग्र तयारी र उच्च सतर्कता ः कोरोनाबारे हामी सबै सतर्क हुनु आवश्यक छ तर यसबाट अनावश्यक रूपले त्रसित हुनुपर्ने कारण छैन । त्रसित नभईकन पनि हामी यसबाट बच्ने दृढ कदम उठाउन सक्छौँ । कोभिड मात्रै होइन, कुनै पनि रोग र समस्या त्रसित भएर सामना गर्न सकिन्न । नयाँ रोग, जसको औषधी र भ्याक्सिन छैन । संसारभरि नै जंगलको आगोसरी फैलिइरहेको यसले स्वाभाविक रूपमा चिन्ता उत्पन्न गर्छ । तर हामीले बिर्सन नहुने के हो भने आम रूपमा यसबाट संक्रमित करिब ८२ प्रतिशत रोगी आफैँ निको हुन्छन्, १३ प्रतिशतजति अस्पतालमा भर्ती भएर निको भएका छन् भने ५ प्रतिशतजति गम्भीर अवस्थामा पुग्न सक्छन् । यसबाट हुने औसत मृत्युदर ३.५ देखि ४.५ प्रतिशत अनुमान गरिएको छ, जुन देशअनुसार घटीबढी हुन सक्छ । त्यसैले कोरोना संक्रमणलाई फैलन नदिन र संक्रमित रोगीलाई गम्भीर अवस्थामा पुग्न नदिन सरकारले उठाएका कडा र दृढ कदमले नेपाल कोरोनाको विश्वव्यापी महामारीसँग जुझ्ने सफल देशहरूको अग्रपंक्तिमा उभिन सक्ने सम्भावना बढाएको हो ।
विश्वका सफल मानिएका देशहरूले केही समय संक्रमितको संख्यामा नियन्त्रण गरेर मृत्यु हुन नदिए पनि त्यहाँ छिटफुट रूपमा नयाँ संक्रमितहरू देखा परेका छन् । तर नेपालमा हालसम्म पहिलो केसपछि ४ सय ८० भन्दा बढी परीक्षण गरिएका शंकास्पद व्यक्तिमा नयाँ केस फेला परेको छैन । नेपालमा कोरोना छँदै छैन भन्ने होइन । यसको अर्थ हो– हामीसँग अवसरको एउटा आँखीझ्याल छ, जसको लाभ नेपालले उठाउन सक्छ ।
त्यो अवसरको लाभ नेपालको सुरक्षा कवचलाई अझ सुदृढ बनाउने अर्को महत्त्वपूर्ण निर्णय लिएर उठाउन सक्छ, नेपालमा अब अर्को एउटा मात्रै कोरोना भाइरसको केस देखापरे पनि यसलाई ‘उच्च सतर्कता’ को अवस्था वा ‘जनस्वास्थ्य संकट’ घोषणा गर्दै तद्नुरूपका कार्यक्रम लागू गर्ने ।
कोभिड– १९ विश्वव्यापी महामारीकै रूपमा घोषित भइसकेको अवस्थामा नेपालले सो घोषणा गर्न केही पनि अप्ठेरो छैन र प्राविधिक रूपले त्यो सही हुनेछ । त्यो घोषणासँगै ती सबै कदम उठाउन अनुकूल स्थिति बनाइदिन्छ, जुन माथि उल्लिखित देशहरूले समयमै उठाएका हुन् ।
तिनीहरूमध्ये प्रमुख हुन्– केही समयका लागि सम्पूर्ण हवाई र स्थलमार्गबाट सीमा वारपार गर्ने यात्रुवाहक यातायात बन्द गर्ने, सबै सामाजिक गतिविधि कम गर्ने, त्यस्ता कार्यक्रममा १५ जनाभन्दा बढी जमघट हुन नहुने र जम्मा भएको खण्डमा व्यक्तिगत दूरी कायम राख्ने, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू घरमै बस्ने आदि । एक किसिमले भन्ने हो भने दैनिक काममा बाधा नपुर्‍याई र सुरक्षित सामूहिक प्रयत्नलाई असर नपारी नेपालको सामाजिक जीवन केही समयका लागि टक्क अडिने तर माथिबाट लादिएर होइन, स्वचाहना र स्वअनुशासनले । कोरोना संक्रमण बढेको खण्डमा यी कदम आवश्यकताअनुसार कडा बनाउँदै लैजान सकिन्छ ।
यस्ता कदमले नेपालको आर्थिक अवस्थामा केही असर पर्न सक्छ तर पछि आउन सक्ने आर्थिक संकटका अगाडि त्यो केही पनि होइन । औद्योगिक र व्यापारी समुदायले पनि सरकारसँग क्षतिपूर्ति माग्ने होइन, आफ्नो सामाजिक उत्तरदायित्व देखाउने बेला हो ।
संकट र अवसर दुवै ः करिब ८० प्रतिशत संक्रामक रोग फोहोरमैला, दूषित पानी र प्रदूषणले फैलिन्छन् भन्ने जनस्वास्थ्यको पुरानै खोज हो, नयाँ देखा परिरहेको संक्रामक रोगमा पनि यो त्यत्तिकै सही छ । त्यसमा प्रकृति र जनावरप्रति मानिसले देखाएको असंवेदनशीलता थपिएको छ । व्यक्तिगत सरसफाइ एवं दूरीको अपिल हाम्रोजस्तो जताततै फोहोर एवं प्रदूषण फैलिने तथा टोल र सडकमा थुक्ने, सिंगान फाल्ने, खोक्दा, खकार्दा मुख नछोप्ने बानी भएको सहरमा कत्तिको प्रभावकारी होला भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । त्यसैले अहिले संक्रामक रोगहरूबारे तीव्र गतिले बढी रहेको चेतना अब त्यसको जरा कारणलाई सम्बोधन गर्नेतर्फ मोडिनुपर्छ । र, हाम्रै आनीबानी परिवर्तित हुनुपर्छ– विशेषतः नागरिक समाजको सक्रिय पहलबाट ।
संक्रामक रोगका लागि राजधानी काठमाडौँ एउटा प्रतिनिधि सहर हो । यसकै उदाहरण सान्दर्भिक हुनेछ ।
१. काठमाडौँ फोहोरमैलाको प्रचुरता र सरसफाइको कमीका लागि बदनामी कमाएको सहर हो । विभिन्न प्रकारका रोगहरू फोहोरमैलाबाटै सिर्जित हुन्छन् र तिनले पानीलाई पनि दूषित बनाउँछन् । नेपालका अन्य ठाउँमा फोहोरजन्य जनस्वास्थ्यको समस्या त्यति विकराल छैन, जति काठमाडौँमा छ । बाग्मती, विष्णुमती र इच्छुमतीजस्ता पवित्र नदीहरू ढलमा परिवर्तित हुँदा पनि त्यो हामीमध्ये धेरैको सरोकारको विषय बनेको छैन । नेपाल सरकारको यसप्रतिको लापरवाहीको चरम रूप आफ्नो ठाउँमा छँदै छ । केही अभियन्ताहरू धेरै वर्षदेखि सफाइ अभियानमा जुटेका छन् तर उनीहरूलाई अपेक्षित समर्थन र सहयोग छैन ।
यदि कोरोनाले गर्दा काठमाडौँ केही समयका लागि बन्द हुने भयो भने त्यसबेला उपत्यकामा र नेपालभरि नै जनस्वास्थ्यको पहिलो प्राथमिकता समग्र सफाइ अभियान चलाउन किन सकिन्न ? स–सानो समूहमा खुला ठाउँमा व्यक्तिगत दूरी कायम गरेर काम गर्न सकिन्छ । कल्पना गरौँ, मौरीजस्तै लाखौँ स्कुल, कलेजका विद्यार्थीहरू सफाइ अभियानमा जुटेको र नेपाल सरकारले सम्पूर्ण सामर्थ्यसहित त्यसलाई सहयोग जुटाइरहेको छ । के यो कल्पनातीत छ ?
२. काठमाडौँको वायु प्रदूषण अर्को ठूलो जनस्वास्थ्य समस्या हो । हामी जलवायु संकटबारे बहस गर्छौं र चिन्तित हुन्छौँ, जुन आवश्यक छ । तर त्यसकै एउटा अंग हो– काठमाडौँको वायु प्रदूषण, जुन केही समयदेखि बेइजिङ र दिल्लीजस्ता सहरभन्दा बढी देखिन थालेको छ । त्यसबारे मौसमी बहस मात्रै भएको पाइन्छ । सडकको दुर्गति, प्रदूषणरहित सार्वजनिक यातायातको अभाव र निजी सवारी साधनको गैरजिम्मेवार प्रयोग, फोहोरमैला प्लास्टिक जलाउने बानी यसका प्रमुख कारणमध्ये पर्छन् ।
एउटै पनि मृत्यु नभएको कोरोनाबाट हामी आत्तिन्छौँ तर बर्सेनि वायु प्रदूषणले गर्दा हजारौँ मानिस श्वासप्रश्वासजन्य रोगले मरिरहेकोबारे हाम्रो खासै ध्यान पुगेको छैन । सडक र यातायातमा सुधार आए सवारी दुर्घटनाबाट ठूलो संख्यामा हुने मृत्यु र अंगभंगजस्तो नेपालको अर्को ठूलो जनस्वास्थ्य समस्यामा पनि कमी आउने थियो । केही समयपछि वर्षाको मौसम आउँदै छ । दयनीय अवस्थाका सडकका खाल्डाखुल्डीमा जमेका पानी नै डेंगु रोग फैलाउने लामखुट्टेका प्रमुख आश्रय स्थलहरू बन्नेछन् । निर्जीव सडकलाई जथाभावी गर्न सकिन्छ भन्ने सोच नै जीवितहरूका लागि काल बनेर आउन सक्छ ।
यिनीहरू केही उदाहरण मात्रै हुन् । गर्नुपर्ने कामको सूची लामो छ । हाम्रो सोच र चिन्तन यतातर्फ मोडिन सक्यो भने रोग लाग्दा लक्षणको उपचार गरेर सन्तुष्ट हुने मानसिकताबाट बाहिर निस्केर रोग लाग्नुको मूल कारण र त्यसलाई समाधान गर्ने चौतर्फी प्रयत्नतर्फ केन्द्रित हुनेछ । कोरोनाले उत्पन्न गरेको संकटबाट हामीले सिक्ने सबैभन्दा महत्त्वपूर्ण पाठ त्यही हो र अवसर पनि ।
(जनस्वास्थ्यविद् मास्के चीनका लागि पूर्वराजदूत हुन् ।)

Page 27
Page 28
Page 29
Page 30
विशेष

कोरोना कम्प

संक्रमणको सन्त्रास र सावधानीमा मुलुक झन्डै–झन्डै ठप्प
- जनक नेपाल
टेकु आइसोलेसन वार्डमा बिरामी जााच्न जानुअघि स्प्रे गरिँदै

अमेरिकाबाट बेलायत हुँदै नेपाल आउँदै थिइन्, ईशा ढुंगाना थापा । ६ चैत दिउँसो ४ बजे उनी त्रिभुवन विमानस्थलमा ओर्लिइन् पनि । उनीसँग कोरोना परीक्षणका कुनै कागजपत्र थिएनन् । उनलाई विमानबाटै ओर्लिन दिइएन ।
ईशा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका कानुनी सल्लाहकार वासुदेव ढुंगानाकी नातिनी हुन् । सत्तारुढ नेकपाका धेरै नेतासँग उनका माइतीको राम्रो सम्बन्ध हुने नै भयो । त्यसैले क्वारेन्टाइनमा बस्ने गरी उनलाई विमानबाट ओराल्न दबाब दिइयो ।
नेता वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसँग ईशालाई सघाइदिन ‘आग्रह’ गरेका थिए । संक्रमण फैलिएका मुलुकबाट आउने व्यक्तिमा अनिवार्य स्वास्थ्य परीक्षण प्रमाणपत्र नहुँदा उनलाई फर्काउनुपर्ने बाध्यता आइपरेको समितिका अधिकारी बताउँछन् । ईशा बेलायत फर्किएर नेपाली दूतावासको शरणमा पुगिन् । “धेरैतिरबाट अनुरोध आएको थियो तर संक्रमणको जोखिम मोल्न सक्ने स्थिति नभएकाले डिपोर्ट गर्नुपर्‍यो,” ती अधिकारी भन्छन् ।
सरकारले ९ चैतदेखि सबै अन्तर्राष्ट्रिय उडान एक साताका लागि स्थगन गरेको छ । युरोप, पश्चिम एसिया, खाडी मुलुक, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानको सीधा तथा ट्रान्जिट आगमन ७ चैतबाटै रोक लगाइएको थियो । छिमेकी मुलुकका सीमा नाकामा स्वास्थ्य जाँच गरेर मात्र आवागमन गर्न मिल्नेछ । १० चैतदेखि लामो दूरीको यातायात अनिश्चितकालका लागि रोकिएको छ । अत्यावश्यक सेवाबाहेकका देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवाप्रदायक संस्थाका सेवाहरू ९ देखि २१ चैतसम्म बन्द गरिएको छ । कोरोना संक्रमणको त्रास र सावधानीमा मुलुक झन्डै–झन्डै ठप्प छ ।
२०१९ को डिसेम्बर अन्तिम साता वुहानमा पहिलोपल्ट कोरोनाको संक्रमण देखियो । छिट्टै फैलिने र उपचार पत्ता नलागेपछि चीनले २० जनवरीमा वुहान सहर रहेको हुवेई प्रान्तसँग अरू प्रान्तको सम्बन्धविच्छेद गरिदियो । त्यसले महामारी अरू प्रान्तमा फैलिन पाएन । सिंगो सहरलाई ‘लक डाउन’ गरेर महामारी नियन्त्रण गर्ने चिनियाँ मोडल सफल भएपछि अहिले अधिकांश मुलुकले त्यसैलाई पछ्याइरहेका छन् । नेपालले पनि संक्रमण भित्रिए ‘लक डाउन’ गर्ने तहसम्मको तयारी थालेको छ ।
चैत पहिलो सातासम्म नेपालमा कोरोना संक्रमित नभेटिएको सरकारी दाबी छ । तर शंकास्पद व्यक्तिले सहज रूपमा परीक्षण गराएर निर्धक्क हुने स्थिति भने बनिसकेको छैन । प्रधानमन्त्री केपी ओलीले ७ चैतमा देशबासीलाई सम्बोधन गर्दै सावधान हुन तर आतंकित नहुन अपिल गरेका छन् । भूकम्प र नाकाबन्दीका बेलाझैँ नेपाली राष्ट्रिय भावना प्रकट गर्न आग्रह गर्दै ओलीले भनेका छन्, ‘समस्या समाधानमा सिंगो राष्ट्र एकजुट रहेको भावना प्रकट भएको छ । मुलुकले हामी सबैको इच्छाशक्ति र उच्च मनोबलको माग गरेको छ ।’
प्रधानमन्त्रीको सम्बोधनकै क्रममा ‘लक डाउन’ घोषणाको तयारी गरिएको थियो । त्यसका लागि नाकाहरू बन्द गर्न भारतलाई प्रस्ताव गरिएकामा ‘नेपाल र भुटानका सीमाबारे तत्काल नसोचिएको’ भारतले जवाफ पठायो । तर भारतीय सीमावर्ती बस्तीमा दैनिक आवागमन भइरहेको निष्कर्षपछि ७ चैतको समन्वय बैठकले ‘लक डाउन’ तयारी गरेको हो ।
उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कोरोनाबाट जोगिन मुलुक लक डाउनको तहमा पुगेको बताउँछन् । “उपलब्ध साधन–स्रोतका आधारमा महामारीबाट जोगिन सबै क्षेत्रलाई परिचालन गरिएको छ,” उनी भन्छन्, “खुला सिमानालगायतका कारणले लक डाउनको स्थिति आएको छ ।”
सरकारले उपभोग्य वस्तुको अभाव हुन नदिने घोषणा गरे पनि बजारमा भने ग्यास, खाद्यान्न, तरकारीलगायतको संकट देखिन थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट उपभोग्य वस्तुको अभाव हुन नदिन सम्पूर्ण व्यवस्था मिलाएको बताउँछन् । भन्छन्, “केही महिनालाई पुग्ने गरी उपभोग्य वस्तु उपलब्ध छन् । कसैले कृत्रिम अभाव सिर्जना गर्छ र कालोबजारी गर्छ भने पक्राउ गरेरै कारबाही गर्ने निर्णय भएको छ ।”
सरकारी दाबीप्रति अविश्वास पैदा भई आम नागरिकले उपभोग्य वस्तु थुपार्न खोज्दा बजारमा अभाव सिर्जना भएको छ । त्यो अविश्वास अन्त्य गर्न आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ, खाद्य संस्थानका गोदाम र आयल निगमको भण्डारण सार्वजनिक गर्ने रणनीति बनाएको छ । ग्यास लुकाउनेको लाइसेन्स खारेज गर्ने चेतावनीपछि व्यवसायीले स्टक र वितरण परिमाण सार्वजनिक गर्नुपर्नेछ । “आवश्यक परे हेलिकप्टरमा खाद्यान्न ओसारेर पनि आपूर्ति व्यवस्था मिलाउँछौँ,” मन्त्री भट्ट भन्छन्, “लक डाउनकै स्थिति आए पनि आत्तिनु पर्दैन । सरकारले खाद्य संस्थान, साल्ट्र ट्रेडिङमार्फत घुम्ती सेवा दिनेसम्मको योजना बनाएको छ ।”
नेपाली सेनाले कोरोना संक्रमणसँग जुध्न कार्यविधि बनाएर तयारी गरेको छ । युद्ध कार्य निर्देशनालयमा कोरोना संकट व्यवस्थापन केन्द्र स्थापना गरेर देशैभर तयारी अवस्थामा राखिएको प्रवक्ता विज्ञानदेव पाण्डे बताउँछन् । संकटकालीन क्याम्प र उपचार व्यवस्थाका लागि १ सय ८१ सैन्य अधिकृतलाई प्रशिक्षण दिइएको छ । नेपालगन्ज, पोखरा र इटहरीमा प्रदेशस्तरीय अस्पताल छन् । त्यस्तै, १८ वाहिनी फिल्ड एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राखिएको उनी बताउँछन् । भन्छन्, “राष्ट्रिय संकट सामना गर्न सेना स्ट्यान्डबाई छ ।”
प्रदेश १ पृतनाले प्रदेश सरकारसँग मिलेर झापा, मोरङ र उदयपुरमा गरी ४ सय ४४ बेड क्षमताको उपचार तयारी गरेको छ । प्रकोप फैलिएर लक डाउनकै स्थितिका
लागिसमेत तयारी अवस्थामै रहेको सैनिक स्रोत बताउँछ । भूकम्पका बेला चीनले उपलब्ध गराएका टेन्टबाट हरेक प्रदेशस्थित पृतनामा अस्थायी अस्पताल बनाउनेसम्मको तयारी छ ।
सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरन्जन स्थल, डान्सबार तथा क्लब चैत मसान्तसम्मै बन्द गरिएका छन् । अत्यावश्यक काममा बाहेक आवागमन नगर्न सरकारले अपिल गरेको छ । मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक स्थल र पार्टी प्यालेसमा २५ भन्दा धेरै भेला नहुन आह्वान गरेपछि धार्मिक तथा सांस्कृतिक गतिविधि पनि ठप्प छन् ।
सरकारी निर्णयको प्रभाव अस्पतालदेखि आर्यघाटसम्म परेको छ । पशुपति क्षेत्र विकास कोषले मलामीसमेत २५ भन्दा बढी नआउन सूचना जारी गरेरै रोकेको छ । आरतीसमेत बन्द गराइएको छ । पहिल्यै तय भएका ठूला पूजा तथा कर्मकाण्डसमेत स्थगन गर्न सम्बन्धित पक्षलाई सूचना पठाइएको कोषका अध्यक्ष प्रदीप ढकाल बताउँछन् ।
माध्यमिक तहको प्रवेशिका परीक्षा (एसईई) सुरु हुनु अघिल्लो साँझ ५ चैतमा स्थगन गरियो । सबै खाले परीक्षा अर्को सूचना नभएसम्म स्थगन गरिएका छन् भने विश्वविद्यालय तथा शैक्षिक संस्थाका सबै पठनपाठन चैत मसान्तसम्म बन्द गरिएका छन् । उपत्यकाभित्र टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०/२० आईसीयु बेड छुट्याइएको छ । प्रदेशमा आवश्यकताअनुसार कम्तीमा १ सय १५ आईसीयु व्यवस्था गर्ने भनिएको छ । तर त्यसमा खासै प्रगति भएको देखिँदैन ।
कोरोना संक्रमणका बिरामी बढेमा थप चार वटा ल्याब तयारी अवस्थामा छन् । अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र नमुना परीक्षण हुँदै आएको छ । बिरामीको संक्रमण बढेमा नमुना परीक्षणका लागि वीर अस्पताल, शिक्षण अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि माइक्रो बायोलोजी विभागका ल्याब सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी छ । यी सबै प्रयोगशालाबाट दैनिक ५ हजार नमुना परीक्षण गर्न सकिने कोरोना नियन्त्रण निर्देशक समिति सदस्य डा खेम कार्की बताउँछन् । त्यसका लागि चार सय जनशक्ति तयारी अवस्थामा छ ।
झन्डै दुई महिनाको भगीरथ प्रयत्नपछि कोरोना नियन्त्रणतिर आएपछि चीन अप्ठेरोमा परेका देशलाई सघाउन तयार देखिन्छ । नेपाललाई सहयोग चाहिए भन्न चिनियाँ राजदूत हउ यान्छीले गरेको आग्रह त्यसैको प्रमाण थियो । “हामी तयारी अवस्थामै छौँ । चीनबाट तत्कालै स्वास्थ्यकर्मी मगाउन आवश्यक छैन,” कार्की भन्छन्, “चिकित्सकलाई चाहिने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगायत उपकरण र सामग्री भने सहयोग मागेका छौँ ।”
परीक्षण गरिएको नमुनालाई डब्लुएचओको क्वालिटी कन्ट्रोलका लागि नमुना परीक्षण गर्न हङकङ पठाउने गरिएको छ । त्यहाँबाट नमुनाको नतिजा पनि एउटै आउने गरेकाले नेपालको परीक्षणमा शंका गर्ने ठाउँ नरहेको उनको दाबी छ ।

Page 31
Page 32
विशेष

प्रदेश ब्रिफिङ : त्रास खुला सीमाको

- अमृता अनमोल,कलेन्द्र सेजुवाल,मोहन बुढाऐर,रमेशकुमार पौडेल
रूपन्देहीको बेलहिया नाकामा राखिएको हेल्प डेस्कमा ज्वरो नाप्दै स्वास्थ्यकर्मी ।तस्बिर :   अमृता अनमोल

प्रदेश ५ : रुघा, खोकी र सामान्य ज्वरो आएपछि २ चैतमा बुटवल–६ जनपथका कृष्ण न्यौपाने बुटवलकै फिजिसियन क्लिनिकमा उपचार गर्न गए । चेक जााचपछि उनलाई निमोनिया भएको थाहा भयो । चिकित्सकले सघन उपचार कक्षमा राखेर उपचार गराउन सल्लाह दिए । लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयुको बेड खाली थिएन ।
अस्पतालले बुटवलकै गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा रिफर गरिदियो । कोरोनासाग मिल्दोजुल्दो लक्षण देखिएकाले अस्पतालले भर्ना लिएन । त्यसपछि उनी भैरहवा मेडिकल कलेजमा जान बाध्य भए । बिरामी अहिले सामान्य अवस्थामा फर्किसकेका छन् । अस्पताल प्रशासन कोरोनाको आशंका गरेकाले भर्ना नलिएको स्वीकार गर्छ । मुटु रोगीजस्ता जटिल खाले बिरामी अस्पतालमा आउने हुादा शंकास्पदलाई भर्ना लिन नसकेको चिकित्सक ऋकेश सापकोटा बताउँछन् । भन्छन्, “अस्पतालका अरू बिरामी भयभीत हुने भएकाले त्यस्ता बिरामीलाई भर्ना गर्न सक्दैनौँ ।”
अधिकांश निजी अस्पतालले बिरामीलाई रुघाखोकी, ज्वरो आएको भए भर्ना गर्न आनाकानी गर्ने गरेको आफन्तको गुनासो छ । उपचार गर्ने चिकित्सक नै त्रसित छन् । “स्वास्थ्यकर्मीलाई नै मनोवैज्ञानिक डर हटाउने तालिम दिनुपर्ने भयो,” मुख्यमन्त्री शंकर पोखरेल भन्छन्, “के गर्दा आफू जोखिममा परिन्न भन्ने थाहा भएपछि स्वास्थ्यकर्मी डराउनु पर्दैन ।”
प्रदेश ५ मा १३ वटा सरकारी अस्पताल छन् । तिनमा १ हजार २ सय दरबन्दी छ । हाल कार्यरत स्वास्थ्यकर्मी भने जम्मा ६ सय छन् । कोरोना हो/होइन भनेर परीक्षणका लागि नमुना लिन सक्ने जनशक्ति भने जम्मा १७ जना मात्र छन् । प्रादेशिक प्रयोगशाला बुटवलकी कल्पना घिमिरेको नेतृत्वमा ३ जना स्वास्थ्यकर्मीलाई अघिल्लो साता प्रदेशले तालिम लिन काठमाडौँ पठाएको थियो । उनीहरूले थप १४ जनालाई तालिम दिएका छन् । उनीहरूलाई तराईका जिल्लाका स्वास्थ्य अस्पतालमा पठाइएको छ । अबको ३ दिनमा ५० जनासम्मलाई परीक्षण लिन सक्ने बनाइने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरी बताउँछन् ।
प्रदेश सरकारले निजीसहितका १९ अस्पतालमा आइसोलेसन बेड तयार गरेको छ । निजी अस्पतालले बिरामी राख्न आनाकानी गरेपछि ७ चैत बिहानदेखि अनुगमन बढाएको छ । दिउँसोसम्म प्रदेशमा कोरोनाका शंकास्पद १० बिरामी भेटिएका छन् । उनीहरू तेस्रो मुलुकका नागरिकको सम्पर्कमा रहेका तथा भारतबाट मजदुरी गरेर फर्किएका हुन् । उनीहरूमध्ये ३ जनामा नेगेटिभ भेटिएको छ । ७ जनाको रिपोर्ट आउन बाँकी छ । “संक्रमणको आशंकामा सामान्य रुघाखोकी र ज्वरो आएका बिरामीसमेत अस्पताल जाने प्रवृत्ति बढेको छ,” स्वास्थ्य निर्देशक विनोद गिरी भन्छन्, “स्वास्थ्यकर्मीहरूको कामको चाप बढेको छ ।”
प्रदेश ५ मा तराईका ६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । यहाँका १८ नाकामा स्वास्थ्य हेल्प डेस्क राखिएको छ । तिनले सीमापारिबाट आउनेलाई स्क्रिनिङ गर्ने र बच्ने तरिका सिकाउने गरेको सामाजिक विकासमन्त्री सुदर्शन बराल बताउँछन् । अहिलेसम्म ३३ हजार २ सय ६६ जनाको स्क्रिनिङ गरिएको छ । स्थायी क्वारेन्टाइनका लागि १२ सय बेडको अस्पताल बनाइँदै छ । “हाल सञ्चालित भैरहवाको भीम अस्पताल र दाङको बेलझुन्डीमा रहेको आयुर्वेद अस्पताल तथा धागो कारखानामा विशेषज्ञ अध्ययन भएको छ,” मन्त्री बराल भन्छन्, “आवश्यकताअनुसार क्वारेन्टाइन बन्नेछ ।”
कर्णाली प्रदेश : कोरोनाको सम्भावित जोखिमबाट बच्न सुर्खेतस्थित प्रदेश अस्पतालमा २० वटा आइसोलेसन बेड व्यवस्था गरिएका छन् । थप ५० बेड राख्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काका अनुसार शंकास्पद चार जनाको प्रयोगशाला परीक्षण नमुना काठमाडौँ पठाइए पनि ॅनेगेटिभ’ भेटिएको छ ।
सञ्चालनमा नआएको प्रदेश अस्पतालको नयाँ भवनलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने तयारी छ । उक्त भवनमा करिब ३ सय जनालाई राख्न सकिनेछ । डा खड्का भन्छन्, “हामीसँग जनशक्तिको अभाव छैन, बजेट भयो भने उपकरण र बिरामीको उपचार व्यवस्थापन गर्न गाह्रो हुने छैन ।” शंकास्पद बिरामीको नमुना परीक्षण काठमाडौँको टेकु अस्पतालमा मात्र हुने हुँदा केही असहज भएको उनी औँल्याउँछन् । कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने नाकामा हेल्थ डेस्क राखेको छ । चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सामा राख्ने भनिएको डेस्क हिउँ नपग्लिएका कारण यालबाङमा राखिएको छ ।
प्रदेश सरकारको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोना संक्रमण पूर्वरोकथामका लागि ३२ जना हेल्थ असिस्टेन्ट (एचए) सहित ५८ जना स्वास्थ्यकर्मी नियुक्त गरिएको छ । १० जना चिकित्सक नियुक्त गर्ने कार्यक्रम रहे पनि कोही नआउँदा परिचालन गर्न नसकिएको निर्देशनालयकी निर्देशक रीता भण्डारी बताउँछिन् । प्रदेश सरकारले आवश्यक परेको खण्डमा बिरामीलाई उद्धार गर्न हेलिकोप्टर पनि तयारी अवस्थामा राखेको छ । कर्णालीका हिमाली तथा पहाडी क्षेत्रमा बिरामी देखापरे हेलिकोप्टरबाहेक अर्को विकल्प छैन ।
सुदूरपश्चिम प्रदेश : यहाँको भूगोल भारत र चीनसँग सीमा जोडिएको छ । चीनसँग सीमा जोडिएको बझाङ र दार्चुलाबाट भन्दा भारतसित खुला सीमा जोडिएका सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका बासिन्दा कोरोना भाइरस भित्रिन सक्ने त्रासमा छन् । यी जिल्लाबाट निर्वाध आवतजावत हुने गरेको छ ।
भारतमा अध्ययन र कामका लागि गएका नेपाली विभिन्न नाकाबाट धमाधम घर फर्कन थालेका छन् । सीमा जोडिएका ११ नाकामा हेल्थ डेस्क स्थापना गरी भारतका विभिन्न सहरबाट घर फर्किरहेका नेपालीको स्वास्थ्य जाँच गरिरहेको प्रदेश सरकारको दाबी छ । कोरोनाका शंकास्पद बिरामी फेला परे तत्काल सीमा नाकाबाट उद्धार गरी क्वारेन्टाइनमा लैजान सुदूरपश्चिम प्रदेशका मुख्य नाका कैलालीको त्रिनगर भन्सार, टीकापुरको खक्रौला र कञ्चनपुरको गड्डाचौकीमा एम्बुलेन्स तयारी हालतमा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
वैध नाकामा स्वास्थ्य जाँच भए पनि भारतसँग सीमा जोडिएका जिल्लामा अवैध नाका उति नै छन् । अवैध नाकाबाट हुने आउजाउलाई नियन्त्रण गर्न सजिलो छैन । भारतसँग सीमा जोडिएका जिल्लाका नेपाल–भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले मुख्य नाकाबाहेक अन्य नाकाबाट हुने आवतजावत बन्द गर्ने निर्णय गरेको छ । १ सय १ किलोमिटर खुला सीमा रहेको कैलालीमा विभिन्न ठाउँबाट आवतजावत हुने गरेको छ ।
गत साता प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले खुला सीमा नियन्त्रण गर्ने निर्णय गर्नुका साथै पूर्वतयारीलाई बलियो बनाउने, सम्भावित जोखिमबाट बच्न आवश्यक कार्ययोजनाका आधारमा अघि बढ्ने निर्णयसहित निर्देशन दिएको थियो ।
प्रादेशिक सेती अस्पतालमा भेन्टिलेटर र आईसीयु थप्ने भने पनि हालसम्म काम सुरु भएको छैन । प्रदेश सरकारले भने धनगढीस्थित सेती प्रादेशिकमा १५ बेडका लागि ठाउँ अनुमान गरेको छ । हाल सेतीमा ५ बेड आईसीयु र एउटा मात्रै भेन्टिलेटर छ । कोरोनाको जोखिमलाई ख्याल गर्दै ५/५ बेड आईसीयु र भेन्टिलेटर थप्ने निर्णय गरेको अस्पतालका निमित्त प्रमुख डा शेरबहादुर कमर बताउँछन् । भन्छन्, “हामीसँग उपचार गर्न आवश्यक पर्ने जनशक्ति, पूर्वाधार र उपकरण केही छैन ।” सुदूरपश्चिम प्रदेशको सेती एक मात्र रिफरल अस्पताल हो ।
कैलालीको त्रिनगर भन्सार कार्यालयको खाली रहेको भवनलाई कोरोनाका शंकास्पद बिरामी राख्न क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने पहल थालिएको जिल्ला प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीको भनाइ छ । साथै, वडा कार्यालय धनगढी नजिक रहेको अर्को रिक्त सरकारी कार्यालयको भवनलाई पनि क्वारेन्टाइनका लागि प्रयोग गर्ने तयारी छ । स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीका अनुसार प्रदेशभरिका १८ अस्पतालमा गरी ४७ वटा आइसोलेसन बेड स्थापना गरिएको छ । प्रदेशका ९ वटै जिल्ला प्रशासनलाई प्रदेश सरकारले औषधीलगायत अत्यावश्यक सामग्रीमा हुन सक्ने कालोबजारी रोक्न निर्देशन दिएको छ ।
बाग्मती प्रदेश : निर्णय गरेको तीन दिनभित्रै भरतपुरमा कोरोना भाइरस संक्रमण र त्यसको आशंका भएका व्यक्तिलाई राखेर उपचार गर्ने कोरोना विशेष अस्थायी अस्पताल तयार भयो । भरतपुर महानगरको संयोजनमा जिल्लाका सरकारी अस्पताल, मेडिकल कलेजहरू, क्यान्सर अस्पतालबाट औजार, उपकरण र शय्या जुटाएर अस्पताल तयार गरेको अस्पताल व्यवस्थापन समितिका संयोजक रहेका भरतपुर चिकित्सक डा भोजराज अधिकारी बताउँछन् । तत्कालका लागि ७० बेडको अस्थायी अस्पताल सञ्चालनमा आउनेछ । भरतपुर अस्पतालले १९ बेडको आइसोलेसन वार्ड बनाएको छ ।
सामाजिक विकासमन्त्री युवराज दुलाल ७ चैतमा बिरामी र चिकित्सक स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक विशेष खालका पोसाक र औजारको प्याकेट नै बोकेर भरतपुर आएका थिए । मन्त्री दुलालका अनुसार संघीय र प्रदेश सरकारको प्रयासमा प्रदेशभित्र ३ सय वटा सघन उपचार कक्ष (आईसीयु) सहित संक्रमितको उपचारका लागि हजार शय्याको आइसोलेसन वार्ड खडा गरिएको छ । “हामी मानसिक र भौतिक दुवै खाले तयारीमा छौँ । भाइरस आउँदै नआओस् भन्ने हाम्रो तयारी हो । आए पनि उपचार गर्न सक्छौँ,” मन्त्री दुलाल भन्छन् । बाग्मती प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको ६ चैतको बैठकले हेटौँडाका विभिन्न ठाउँमा ५ सय शय्याको क्वारेन्टाइन क्षेत्र व्यवस्था गरेको छ ।
विस्तृत : nepalmag.com.np मा

Page 33
Page 34
विशेष

जनस्वास्थ्यमा राज्यको निगरानी

- नेपाल संवाददाता
डा ल्हामो याङचेन शेर्पा 

कोभिड– १९ को उद्गम थलो चीनमा ठूलो संख्यामा मृत्यु र संक्रमितको पहिचान भइसकेको छ । यसको सीमा भारत–नेपालसँग समेत जोडिएकाले थप सतर्क हुनैपर्छ । नेपालमा एउटा मात्र संक्रमित पहिचान भई उपचार गरिए पनि यसलाई सामान्य ठान्नु हुँदैन । कोरोना भाइरसको
वृद्धि गुणात्मक रूपमा हुने हुँदा सुरक्षाका लागि विभिन्न उपाय जरुरी छ ।
पहिलो– नेपालमा यदि कुनै व्यक्ति कोरोनाबाट संक्रमित छ भन्ने शंका लागे पहिले त्यस्ता शंकास्पद व्यक्तिलाई सरुवा रोग अस्पताल टेकुमा पठाउने गरिएको छ । शंकास्पद संक्रमित व्यक्तिको नाक, घाँटीबाट नमुना लिई राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाइन्छ । शंकास्पद संक्रमित व्यक्तिमध्ये निजी तथा सरकारी स्तरबाट कति जनालाई परीक्षणका लागि सम्बन्धित स्वास्थ्य निकाय पठाइयो, प्रयोगशालामा पठाइयो, कति संख्यामा संक्रमण फेला पर्‍यो र कति व्यक्तिको सम्पर्कमा संक्रमित रहेजस्ता विषय यकिन हुने गरी तथ्यांक राखिनुपर्छ ।
यदि कुनै संक्रमित व्यक्तिमा कोरोना भाइरसको असर देखापरे वा पोजेटिभ देखिए त्यस्ता केस स्वास्थ्य परीक्षणका लागि ध्यानाकर्षणमा रहनुपर्ने हुन्छ । कुनै बिरामीमा यो पोजेटिभ देखापरे कसरी पहिचान गर्ने र उसलाई अलग्गै राख्ने प्रक्रियाबारे सोच्नुपर्ने हुन्छ । टिचिङ, पाटन अस्पताल, नेसनल मेडिकल कलेज र निजी अस्पतालका चिकित्सकहरूसँग गत ५ चैतमा कुराकानी गर्दा तिनले कोरोना संक्रमितको पहिचान गर्नुका साथै त्यस्ता बिरामी कहाँ पठाउनुपर्ने हो भन्ने विषयमा जानकार रहेको पाइयो । तर संक्रमितको सम्पर्कमा रहेका व्यक्तिबारे अभिलेख, तथ्यांक कसरी, कसले संकलन र परीक्षण गर्छ भन्नेबारे जानकार र पर्याप्त गृहकार्य नभएको देखियो ।
पाटन अस्पतालका एक डाक्टरले आफूले आइसोलेसन वार्डबारे सुनेको तर संक्रमित बिरामीलाई राख्ने वार्ड हालसम्म नदेखेको बताए । कोरोना बिरामीको सहज उपचारको व्यवस्था कसरी गर्न सकिन्छ भन्ने विषयमा चिकित्सकहरू नै जानकार नभएको देखियो ।
त्यति मात्र होइन, सरकारले सम्भाव्य महामारी रोकथामका लागि गरिएका सचेतना तयारी, कोरोना संक्रमणबाट बच्न/बचाउन थालिएको पूर्वतयारी सामान्य स्तरको भएको पाइयो । प्रत्येक स्वास्थ्यकर्मीलगायत अस्पतालमा कार्यरत चिकित्सक, विशेषज्ञ आदिलाई कोरोना भाइरस संक्रमणमा परेका बिरामीको उपचार गर्दा सुरक्षित तवरले अरूलाई असर नपर्ने गरी पूर्वतयारीको जानकारी गराउन जरुरी छ । यद्यपि अग्रपंक्तिमा उपचार गर्न/गराउन संलग्न हुनुपर्ने डाक्टरहरू आफैँ कोरोना संक्रमणबारे अनभिज्ञ देखिएका छन् भने आम जनतामा कसरी सचेतना जगाउने भन्ने प्रश्न तेर्सिएको छ । कागजी योजना मात्रै पर्याप्त हुने रहेनछ ।
दोस्रो– कोरोना प्रभावित एक बिरामीको मृत्यु भएको विषय अध्ययन गर्दा अनुमानित ४९ प्रतिशत मधुमेह, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग र अर्बुद रोगले ग्रसित देखिएकाले तिनीहरूलाई यसको भाइरसले छिटो संक्रमण गरेको पाइएको छ । त्यस्तै, ४६ हजार २ सय ४८ प्रभावित बिरामीको अध्ययन गर्दा उच्च रक्तचाप, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगग्रस्त देखिएकाले तिनीहरूलाई कोरोनाले तत्कालै संक्रमण गरेको देखियो ।
कोरोना पहिचानका क्रममा गत तीन महिनाभित्र श्वासप्रश्वास, दम रोग वा मधुमेह अथवा रक्तचाप भएका कति व्यक्तिमा कोरोना भाइरसको परीक्षण गरियो । कोरोनाका कारणले वा पुराना उल्लिखित रोगले मृत्यु भएका व्यक्तिको अभिलेख राखिएको पाइएन । विश्व स्वास्थ्य संगठनले प्रवाहित गरेको सुझावअनुसार कोरोना भाइरसबाट संक्रमित बिरामीमा श्वासप्रश्वाससम्बन्धी लक्षण नाक, घाँटी मात्र नभई खकार, रगत र फोक्सोमा रहेको र्‍याल तथा दिसापिसाबसमेत परीक्षण गर्नुपर्ने भनिएकामा के–कति संख्याका व्यक्तिमा उक्त परीक्षण गरियो भन्ने कुराको कहीँ पनि तथ्यांक र अभिलेख भेटिएन । हालसम्म गरिएको अनुसन्धानमा खासगरी कोरोना भाइरसले संक्रमित बिरामीमध्ये २० प्रतिशतलाई सघन उपचार कक्ष (आईसीयु) मा भर्ना गरी उपचार गर्नुपर्ने देखियो ।

वीर अस्पतालमा ज्वरो मापन

सरकारले कोरोनाबाट सुरक्षित रहन र त्यो भाइरस भए/नभएको पहिचान गर्न सार्वजनिक–निजी–साझेदारी कार्यक्रम सञ्चालनमा ल्याई परीक्षण गरेर रोग पहिचान कार्य छिटो सम्पन्न गर्नुपर्छ । यसरी सरकारी र निजी क्षेत्रबाट कोरोना संक्रमित बिरामीको परीक्षण थालनी गर्ने हो भने तिनको संख्यामा कमी ल्याउन सकिन्छ ।
तेस्रो– ‘डाइमन्ड फ्रिन्सेस त्रुज सिप’ पानीजहाजको २०२० को अध्ययनअनुसार ३ हजार ६३ जनामा कोरोना भाइरस परीक्षण गर्दा १७.९ प्रतिशत प्रभावित व्यक्तिमा त्यसको लक्षण पाइएन । त्यसरी नै चीनको वुहानबाट उद्धार गरिएका जापानीको कोरोना भाइरस परीक्षण गर्दा ३० प्रतिशत प्रभावित व्यक्तिमा कुनै लक्षण देखिएन । यद्यपि कोरोना नदेखिएका वा हल्का लक्षण देखिएका बिरामीबाट समेत यो सर्ने जानकारी उपलब्ध भएको छ ।
त्यसैले नेपालले कोरोना भाइरसको महामारी रोक्न धेरै प्रयत्न गर्नुपर्ने हुन्छ । यो भाइरसले व्यक्तिबाट व्यक्तिमा मात्र नभएर संक्रमितले छोएको र प्रयोग गरेको कुनै पनि सामानबाट पनि सजिलै केही घन्टा, केही दिनबीचमा फैलिने र नयाँ व्यक्तिमा संक्रमण बनाउने हुन्छ । यदि हामीमा संक्रमणसम्बन्धी जानकारी नभए कोरोना भाइरसका किटाणु यत्रतत्र रहने हुँदा संक्रमण विस्तार हुँदै जाने र त्यसलाई रोकथाम गर्न सरकारी तथा निजी क्षेत्रबाट तत्कालै उपयुक्त कदम नचालिए यसले महामारीको रूप लिनेछ ।
चौथो– विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको सम्बन्धमा प्रयोगशालाको माध्यमबाट परीक्षण गर्न सिफारिस गरेको छ । प्रत्येक राष्ट्रिय स्तरका प्रयोगशालामा कोरोना भाइरस परीक्षण गर्नुभन्दा पहिले ५ वटा पोजेटिभ र १० वटा नेगेटिभ नमुना संकलन गरी विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका प्रयोगशालामा परीक्षण गर्न प्रोत्साहन गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस परीक्षणका लागि सिफारिस गरेको मापदण्डअनुसारका प्रयोगशाला हालसम्म १६ मुलुकमा मात्र रहेको उसको आधिकारिक सूचनामा पाइएको छ ।
नेपालले राष्ट्रिय प्रयोगशालाबाट सयौँ परीक्षण गरे पनि अहिलेसम्म विश्व स्वास्थ्य संगठनले भनेबमोजिम १० वटा नेगेटिभ नमुना पुनः परीक्षणका लागि ती १६ वटा मुलुकमा पठाएको विवरण पाइएको छैन । राष्ट्रिय स्वास्थ्य परीक्षण प्रयोगशाला टेकुमा मात्र कोरोना भाइरस परीक्षण हुने र काठमाडौँबाहिर पर्याप्त मात्रामा जनशक्तिका साथै चिकित्सकको प्रबन्ध नभएको अवस्था छ । त्यसले गर्दा नमुना संकलन गरेर पठाउने, संकलित नमुना ओसारपसार गर्दा एउटा निश्चित तापक्रम हुनुपर्नेमा सो कुराको जानकारी भए/नभएको यकिन गर्न सकिने अवस्था छैन ।
पाँचौँ– विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेकाले निजी स्वास्थ्य बिमाभित्र यो रोग नपर्ने भन्दै बिमा कम्पनीहरूले बिमा नगर्न सक्छन् । तसर्थ सरकारी स्तरबाटै बिमा कम्पनीहरूलाई निर्देशन जारी गरी घातक रोगको सूचीमा कोरोना संक्रमणलाई समावेश गरिनुपर्छ । साथै, कोरोनाको परीक्षण र उपचार गर्नका लागि धेरै देशहरूमा सरकारले अतिरिक्त शुल्कबिना परीक्षण र उपचार गर्न निर्देश गरेको छ । स्वास्थ्य सेवा सबै नेपालीको मौलिक हकभित्र पर्ने हुँदा रोग परीक्षण र उपचार गर्ने व्यवस्था मिलाउन सरकारले सहजीकरण गरिदिनुपर्छ ।
छैटौँ– अन्त्यमा कोरोना भाइरसका सन्दर्भमा संक्रमितको परीक्षण र उपचारभन्दा पहिले सार्वजनिक रूपमा सर्वसाधारणले बुझ्ने स्थानीय भाषामा समेत यो के हो, यसले कसरी संक्रमित बनाउँछ, यसबाट बच्न के–कस्ता पूर्वतयारी आवश्यक हुन्छन् भन्ने विषयमा सूचना, पम्प्लेट, अन्य जानकारीका विषय समाजमा निरन्तर उपलब्ध गराउन जरुरी छ ।
धेरै मुलुकमा कोरोना भाइरसको संक्रमण गुणात्मक रूपले बढ्ने हुँदा यसले छिटोभन्दा छिटो सयौँ मानिसलाई प्रभावित पार्ने र ज्यान लिने खतरा देखिएको छ । कोरोना संक्रमणको बोझ हटाउन संक्रमितको पहिचान गर्ने, परीक्षण गर्ने, एकान्तमा राख्ने, उपचार गर्नेजस्ता विधि अपनाउनु त छँदै छ, त्यसभन्दा पहिले त्यसको स्रोत नियन्त्रण प्रक्रिया थालनी गर्न अत्यन्त जरुरी छ । यी सब प्रक्रियाका लागि विश्व स्वास्थ्य संगठनले लागू गरेको निश्चित मापदण्ड अपनाउन पनि उत्तिकै आवश्यक छ ।
दक्षिण कोरियाद्वारा हालै सञ्चालन गरिएको परीक्षण विधि, उपचार प्रक्रिया आदिबाट कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्युदर घटाउन जुन सत्प्रयास भयो, त्यसको विश्व स्वास्थ्य संगठन एवं विश्वभरका विशेषज्ञहरूले प्रशंसा गरेका छन् । दक्षिण कोरियाले पहिलो चरणमै कोरोना भाइरस परीक्षण गर्ने साधनको विकास गरेको र त्यसको संकटबाट संक्रमितलाई उद्धार गर्न सफल भएको छ ।
कोरोना संक्रमणबाट दक्षिण कोरियाले अनुसरण गरेको विधि पछ्याउन नेपालको सरकारी र निजी स्तरबाट ढिला गरिए ठूलो धनजनको क्षति हुन सक्नेमा द्विविधा छैन । अतः सरकारले बेलैमा सचेत र सचेष्ठ रही कोरोना भाइरस नियन्त्रण र संक्रमितको उपचार समयमै गरेर जीवन रक्षा गर्ने चासो देखाउन सके मात्र आम नागरिकले राहत महसुस गर्नेछन् ।
(शेर्पा एपिडेमियोलोजिस्ट हुन् ।)

Page 35
Page 36
राजनीति

कांग्रेसका दुई किनारा

आगामी महाधिवेशनका सभापति दावेदार रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच सम्बन्ध सुधारको प्रयास
- सन्तोष आचार्य

पाँच वर्षअघि अर्थात् ११ वैशाख ०७१ को सन्दर्भ । सुशील कोइराला नेतृत्वको कांग्रेसले संविधान मस्यौदा समितिको सभापतिमा पार्टीका मनोनीत महामन्त्री कृष्ण सिटौलालाई अघि सार्‍यो । उक्त पदका लागि पार्टीका उपसभापति रामचन्द्र पौडेल नै इच्छुक थिए । सभापतिसँग इच्छा पनि व्यक्त गरेका थिए । तर त्यो पदमा जान पौडेलको बाटो छेक्न सफल भए, सिटौला ।
उक्त पदमा जान सके आफ्नो राजनीतिक हैसियत बढ्ने सोचेका थिए, पौडेलले । तर पद नपाएपछि सभापति कोइरालासँग पौडेलको चित्त दुखाइ रह्यो । सिटौलासँग यसअघि नै बढिसकेको दूरी झनै फराकिलो भयो ।
पौडेल र सिटौलाको जम्काभेट भयो, कांग्रेसको १३ औँ महाधिवेशनमा । दुवैले एकअर्काको अस्तित्व स्वीकारेनन् । सिटौलाले छुट्टै समूह बनाएर आफ्नो गुटलाई तेस्रो धारको नाम दिए । महाधिवेशन हुनु एक महिनाअघि ०७२ माघमा पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि पौडेल कार्यवाहक सभापति बने । कोइराला परिवारसहित संस्थापनको नेता बनेका पौडेललाई स्वीकार नगरेर सिटौलाले आफ्नो समूह निर्माण गरे । सभापति पदका लागि उम्मेदवारी दिए ।
पौडेलले सिटौलालाई संस्थापनमै सहभागी हुन निम्तो नदिएका पनि होइनन् । महाधिवेशनको पूर्वसन्ध्यामा धुम्बाराहीस्थित सिटौला निवास पुगेरै पौडेलले उनलाई फुस्ल्याउने कोसिस पनि गरे । तर सिटौलाले दाबी गरेको महामन्त्री पदका लागि भने पौडेल तयार भएनन् । ‘साथीहरूसँग सल्लाह गरेर खबर गर्छु’ भनेका पौडेल त्यसपछि सम्पर्कमै आएनन् । शेरबहादुर देउवासहित पौडेल र सिटौला सभापति पदका लागि मैदानमा ओर्लिए । पहिलो चरणमा कुनै नतिजा आएन । दोस्रो चरणमा सिटौलाले संस्थापन पक्षका पौडेललाई मद्दत नगरेपछि देउवा कांग्रेस सभापति बने– त्यो पनि बिनासर्त ।
एक कांग्रेस नेता भन्छन्, “पौडेलले त्यतिबेला सिटौलालाई आफ्नो पक्षमा लिन सकेको भए पार्टीको स्वरूप अर्कै हुन्थ्यो, त्यसमा पौडेल चुक्नु भएकै हो ।”
त्यसो भए के यी दुई घटना मात्र कारक हुन् त, पौडेल र सिटौलाबीच दूरी बढ्नुमा ? झन्डै साढे दुई दशकअघि गिरिजाप्रसाद कोइरालाले झापामा चक्र बास्तोलासँगै सिटौलालाई पनि अघि बढाउन थाले । यसमा भूमिका खेले, त्यतिबेला पार्टीमा प्रभावशाली रहेका गोविन्दराज जोशीले । सिटौला विस्तारै जोशीसँग नजिकिन थाले ।
जोशीसँग सुरुदेखि नै पौडेलको पानी बाराबार छँदै थियो । यसले पनि पौडेल र सिटौला एक ठाउँमा आउने मौका मिलेन । सिटौलाले पनि आफूभन्दा वरिष्ठ नेता पौडेलभन्दा जोशीलाई महत्त्व दिन थाले । यसले दुवैबीचको तिक्तता झनै बढायो । ०६२/६३ को जनआन्दोलनपछि बनेको सरकारमा गृहमन्त्री बने, सिटौला । माओवादीलाई १२ बुँदे सम्झौतामार्फत शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसादले दिएको जिम्मेवारी पूरा गरे । पौडेलले सिटौलाको ‘स्पिड’ लाई रोक्न सकेनन् वा चाहेनन् ।
०६६ मा गिरिजाको निधनपछि सिटौलाले पार्टी नेतृत्व सम्हाल्न आइपुगेका सुशील कोइरालाको कोटरीसँग सम्बन्ध बढाए । परिणाम ०६७ मा भएको १२ औँ महाधिवेशनमा मनोनीत महामन्त्री भए । त्यसपछि निर्वाचित महामन्त्री प्रकाशमान सिंहभन्दा हावी भए, पार्टीमा । संगठन विभाग प्रमुखको जिम्मेवारी पाइसकेका सिटौलाले त्यतिबेलै आफ्नो क्षमता देखाए पनि । राजनीतिक दाउपेच नजानेका र त्यसबेला गुटगत राजनीति गर्न नरुचाएका पौडेलले सिटौलाको सहयोग कहिल्यै पाउन सकेनन् । चाहे पार्टी सभापति बन्न होस् वा ०६७ साउनमा प्रधानमन्त्रीको उम्मेदवारी दिएर १७ पटकसम्म पराजित हुँदा नै ।
गठबन्धनको प्रयास : आगामी फागुनमा कांग्रेसको १४ औँ महाधिवेशन हुँदै छ । ७५ वर्षीय पौडेल र ७० वर्षीय सिटौलाले गत महाधिवेशनमा जस्तै सभापति पदका लागि उम्मेदवारी दिने बताउँदै आएका छन् । देउवाले पनि आफूलाई दोहोर्‍याउने तयारी थालेका छन् । अर्थात्, १३ औँ महाधिवेशनमा सभापति पदका लागि जुन परिस्थिति थियो, त्यसले आगामी महाधिवेशनमा पनि निरन्तरता पाउनेछ । त्यही परिस्थिति बन्न नदिन पार्टीभित्र अर्जुननरसिंह केसीलगायत केही नेताहरू भने पौडेल–सिटौला गठबन्धनका लागि दौडधूप गरिरहेका छन् ।
सभापति पदमा देउवालाई दोहोरिन नदिन संस्थापनइतर पक्ष एक ठाउँ रहनुको विकल्प नभेटेका केसीलगायतका नेताहरूको सक्रियता बढेको बुझ्न कठिन छैन । सफा चरित्र र राजनीतिक व्यक्तित्व भए पनि पौडेलसँग बलियो समूह छैन । उनको समूहभित्रै रहेका भनिएका महामन्त्री शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहले समेत सभापति पदमा दाबी गरिरहेका छन् । उनीहरूले पौडेललाई उपयोग गर्छन् कि स्वीकार्छन्, त्यो भने हेर्न बाँकी छ ।
यस्तो स्थितिमा सिटौलालाई पौडेल समूहभित्र ल्याउने केसीलगायत नेताहरूको प्रयास देउवाका लागि खतराको घन्टी हुन सक्छ । सभापति पदका लागि पौडेल र सिटौलाले एकअर्कालाई स्वीकार्न नसक्ने परिस्थिति बने केसीलगायतको समूह प्रकाशमानलाई उक्त पदमा अघि सार्न चाहन्छ ।
जस्तो, कोइराला दाजुभाइको महत्त्वाकांक्षाको व्यवस्थापन कसरी गर्ने ? किनकि सिटौला कोइराला दाजुभाइलाई पनि स्वीकार्न तयार छैनन् । यसैले उनी पौडेलसँगको गठबन्धनमा सहज हुन सकिरहेका छैनन् । तेस्रो धार कायमै राखेर आफ्नो पक्षमा माहोल नबने गगन थापालाई सभापतिमा अघि सारेर देउवालाई टक्कर दिन सकिन्छ कि भन्ने सिटौलाको सोच हुन सक्छ । तर थापाको पक्षमा पनि संस्थापनइतरबाट हरियो झन्डा देखाउने सम्भावना तत्कालका लागि देखिँदैन ।
संस्थापनइतरका नेता तथा काभ्रे कांग्रेस जिल्ला सभापति मधु आचार्य पनि पार्टीभित्र वर्तमान नेतृत्वको विकल्प खोजिरहेका बेला इतर पक्ष एकै ठाउँ आउनुको विकल्प नरहेको बताउँछन् । “आगामी महाधिवेशनदेखि कांग्रेसको नीति र नेता दुवै फेर्ने भन्ने आम बुझाइ माथिदेखि तलसम्मै छ । पार्टीलाई यथास्थितिमा राख्न सकिँदैन,” आचार्य भन्छन्, “परिवर्तनको पक्षमा रहनेहरू एक ठाउँ आउँछन्, यथास्थितिमै रमाउनेहरू बढारिन्छन् । यस पटकको महाधिवेशन यथास्थितिवादविरुद्घ हुनेछ ।”
आचार्यको दाबीअनुसार संस्थापनइतरका नेताहरू एकै ठाउँ रहेकाले आगामी एक दुई महिनाभित्र पार्टी सभापतिका रूपमा सर्वसम्मत नाम सार्वजनिक गरिनेछ । आफूलाई मात्र केन्द्रमा राखेर संस्थापनइतरबाट सर्वसम्मत नभई कसैले सभापति दाबी गरे त्यसले यथास्थितिकै समर्थन गरेको बुझिने बताउँछन्, आचार्य ।
रहला तेस्रो धार ? ः महाधिवेशनसम्म आइपुग्दा सिटौलाको तेस्रो धार अस्तित्वमा रहन्छ कि रहँदैन भन्ने प्रश्न पनि उठेको छ । किनभने सिटौलासँग रहेका युवा नेताहरू थापादेखि प्रदीप पौडेलसम्म वर्तमान नेतृत्वको निरन्तरताले पार्टीमा ठूलो क्षति हुने मान्यता राख्छन् । यसैले उनीहरू पार्टीमा नयाँ नेतृत्व ल्याउनका लागि संस्थापनइतरको एउटै मोर्चा बन्नुपर्ने देख्छन् । अर्कोतिर सिटौलासँग रहेका भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाईंलगायतका नेताहरू राजनीतिक भविष्य सुनिश्चित गर्नकै लागि भए पनि संस्थापनसँगै मिलेर जानुपर्ने तर्क राख्छन् ।
देउवासँग आफ्ना पक्षमा रहेका केही नेताहरूको उठबस बाक्लिँदै जानु र अर्का प्रतिद्वन्द्वी पौडेलले फागुन तेस्रो साता ‘गगन थापा र प्रदीप पौडेल हामीसँगै हुनुहुन्छ, उहाँहरूको उचित व्यवस्थापन हुन्छ’ भनेर सार्वजनिक मन्तव्य दिएपछि सिटौला झस्किनु अस्वाभाविक थिएन । आफ्नो समूह लाखापाखा लाग्न थालेको सन्देश गएपछि सिटौलाले ३ चैतमा भेला बोलाए । थापा, पौडेल, प्रधान, चौधरी, हुमागाईंलगायत आफ्नो समूहमा रहेका भनिएका नेताहरू एक ढिक्का रहेको र आगामी महाधिवेशनमा पनि साथै रहने सन्देश दिन खोजे । ‘शक्ति बढाउने नेतृत्व आफैँ
गर्ने’ बताए पनि सिटौलाका लागि सभापति पद धेरै टाढा छ ।
के आगामी महाधिवेशनसम्म सिटौलाको नेतृत्वमा १३ औँ महाधिवेशनमा जन्मिएको तेस्रो धारले निरन्तरता पाउला ? केन्द्रीय सदस्य तथा सिटौला समूहका नेता गगन थापालाई प्रश्न सोधियो । थापा पार्टी नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने मान्यता राख्छन् । वर्तमान नेतृत्वलाई दोहोरिन नदिनका लागि सिटौला समूहले भूमिका खेल्न सक्नुपर्ने उनको कथन छ । “कांग्रेस जसरी चलेको छ, त्यसरी चल्दै चल्दैन । पार्टीभित्र व्यापक सुधारका लागि नेतृत्व परिवर्तन पहिलो सर्त हो,” थापा कूटनीतिक सुनिन्छन्, “परिवर्तन गर्ने कुरामा यसअघि पनि कोसिस गर्‍यौँ, यस पटक परिणाममा पुग्नुपर्छ । जे गर्दा परिणाममा पुगिन्छ, हामी त्यही गर्छौं ।”

Page 37
Page 38
समाजवाद

भूपू समाजवादी र असली समाजवाद

- प्रदीप गिरि

रवर्ट अवेनदेखि कार्ल मार्क्स हुँदै बीपी कोइरालासम्म आइपुग्दा समाजवाद विमर्शले समाजको प्रत्येक पक्षलाई आलोकित गरेको छ । २६ माघको नेपाल अंकमा दोभान राईले विषाक्त पुरुषवाद र पर्यावरणीय विनाशबारे बहस झिक्नुभएको छ ।
उहाँले लेख्नुभएको छ ः ‘पुँजीवादको चुलिँदो समृद्धिसँग अझ चुलिँदो आशाविपरीत संसार आज भयको भूमरीमा डुबेको छ । पर्यावरण संकट, विश्वव्यापी प्रतिगामी लहर, बढ्दो असमानता र प्रविधिदेखि खतरा जसरी देखिँदै छ, त्यसको दोषपूर्ण औँला पुँजीवादतर्फ नै इंगित छ ।
नेपालको त्यसै अंकमा युवल नोआ हरारीको एउटा लेख छापिएको छ । हरारीले सूचना प्रविधिले निकट भविष्यमा मनुष्य मात्रलाई असान्दर्भिक बनाउने भयावह तस्बिर पेस गरेका छन् । दोभान र हरारीले एउटै सत्यको दुई पहलु देखाएका हुन् । त्यो सत्य के हो ?
सत्य यो हो– पुँजीवादी उत्पादन मानवीय प्रक्रिया होइन । उत्पादनका निमित्त उत्पादन यस व्यवस्थाको बाध्यता हो । तथाकथित विकासको अन्धवेगमा हिजोसम्म मानिस उत्पादनको एउटा निरीह पुर्जा थियो । आर्टिफिसियल इन्टेलिजेन्सले गर्दा अब त्यो पनि रहँदैन ।
मार्क्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्र लेख्दा इतिहासको सरल व्याख्या गरेका थिए, ‘मानव जातिको आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो ।’ तर यो केन्द्रीय कथन थिएन । पुँजीवादले मानिसलाई वस्तु बनाएको छ । देखिँदा मात्र ऊ स्वतन्त्र छ । उत्पादन व्यवस्थाले उसलाई निरन्तर घचेडिरहेको छ । अन्जानमा उसको वस्तुकरण भएको छ । उपभोगको नशामा मानिस बेहोस छ ।
मार्क्स–एंगेल्स सामाजिक संघर्षको विविधता र जटिलतासित बिलकुलै अनभिज्ञ भने थिएनन् । ऐतिहासिक दृष्टिले हेर्दा विषाक्त पुरुषवादको पहिलो गम्भीर विश्लेषण मार्क्स–एंगेल्सबाटै भएको थियो । मार्क्स–एंगेल्सले थोरै भए पनि पर्यावरणीय संकटको समेत संकेत गरेका छन् ।
हरेक महापुरुष आफ्ना युगका सन्तान हुन्छन् । मार्क्स अपवाद थिएनन् । तिनताक बेलायतमा एडम स्मिथ र डेविड रिकार्डोको नेतृत्वमा शास्त्रीय अर्थशास्त्र प्रतिष्ठाको उचाइमा थियो । त्यस बौद्धिक परिवेशमा मार्क्स भिजेका थिए । श्रमको अतिरिक्त मूल्यको सिद्धान्तका निमित्त उनी डेविड रिकार्डोप्रति ऋणी थिए । मार्क्सले पुँजीवादको खास पैशाचिक चरित्र चिने । उनी पुँजीवादको उत्पादन क्षमताबाट भने चमत्कृत थिए । पुँजीवादले उत्पादनका सबै समस्याको समाधान गरिदिइसकेको छ, अब जो गर्ने हो वितरण मात्र गर्ने हो भन्ने मार्क्सको ठहर थियो । यसै विश्वासका साथ उनले ‘विश्वका मजदुर हो एक होऊ’ भनी आह्वान गरेका थिए । महिला, पर्यावरण, जातीय उत्पीडनका प्रश्नले उनीहरू उद्वेलित नहुने होइन तर वर्गसंघर्ष नै इतिहासको चालक शक्ति हो भन्ने सवालमा उनीहरू विश्वस्त थिए । पुँजीवादको उत्पादन प्रणाली र उत्पादनको सम्बन्धको टकरावले नयाँ व्यवस्था आउँछ । त्यो नयाँ व्यवस्था मजदुर वर्गको नेतृत्वमा आउँछ भन्ने मार्क्सको भविष्यवाणी थियो ।
तर त्यो दिन आउनुअघि नै पुँजीवादी प्रणालीले सिंगो पृथ्वीलाई नाश गर्न सक्छ भन्ने कुरो मार्क्सले सोच्न सकेका थिएनन् । उत्पादन प्रणाली जस्ताको तस्तै राखेर उत्पादनको सम्बन्धलाई मात्र ओभानो पाराले फेर्न सकिन्छ भन्ने उनको प्रस्ताव पनि अहिले अव्यावहारिक देखिएको छ ।
संसार परिवर्तनशील छ । अझ यताका तीस वर्षमा त अचिन्त्य रूपमा दुनियाँ फेरिएको छ । तत्कालीन देश, काल र परिस्थितिमा जन्मिएका, हुर्किएका मार्क्स–एंगेल्सका निमित्त अहिलेको परिवर्तन कल्पनातीत छ । तर मानिस मात्रको वस्तुकरण र असान्दर्भिकताको समस्या झन् चुलिएको छ ।
प्रथम महायुद्ध इतिहासको एउटा काल विभाजक मिति हो । त्यस युद्धको माझमा नै बोल्सेभिक पार्टीको नेतृत्वमा रुसमा सोभियत राज्यको स्थापना भयो । नयाँ युग प्रारम्भ भयो । सोभियत क्रान्तिका पृष्ठभूमिमा विश्व समाजवादी आन्दोलन भने दुई भागमा बाँडियो । पश्चिमी युरोफका अधिकांश सोसल डेमोत्रेट पार्टीहरूले शान्तिपूर्ण संसदीय बाटोबाट समाजवादमा पुग्न सकिन्छ भन्ने विश्वास राखे । एडवर्ड बर्नस्टिन र कार्ल काउत्स्की संसदीय बाटोका प्रवक्ता थिए । लेनिन र ट्राटस्कीले सशस्त्र संघर्षका आधारमा मजदुरले राज्यसत्ता कब्जा गर्नुपर्छ भन्ने आग्रह अगाडि सारे । मतभेद त अरू पनि थिए तर मुख्यतः यसै फ्रश्नमा सोसल डेमोत्र्याट र कम्युनिस्ट छुट्टिए । त्यसपछिका लगभग तीन दशक कम्युनिस्ट र सोसल डेमोक्र्याटको कलहबाट निर्देशित रह्यो । यसै कलहले हिटलर र मुसोलिनीलाई जन्म दियो । द्वितीय महायुद्धको महासंहार भयो ।
द्वितीय महायुद्धले विश्वको राजनीतिक परिदृश्य फेर्‍यो । तेस्रो विश्वका अधिकांश मुलुकहरू विशेषगरी दक्षिण एसिया स्वाधीन भयो । फेवियन समाजवादमा विश्वास राख्ने जवाहरलाल नेहरु स्वाधीन भारतका प्रथम प्रधानमन्त्री भए । चीनमा माओ त्से तुङको नेतृत्वमा कम्युनिस्ट जनवादी गणतन्त्र कायम भयो ।
हिन्दुस्तानको स्वाधीनता संग्रामका सिलसिलामा सन् १९३४ मा पटनामा कांग्रेस सोसलिस्ट पार्टीको स्थापना भएको थियो । नेहरु यस आयोजनाको पृष्ठभूमिमा थिए तर आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण र डा राममनोहर लोहिया यसका मुख्य व्यक्तित्व थिए । उहाँहरू तीनै जना उच्चकोटिका चिन्तक हुनुहुन्थ्यो । मार्क्सवादका विद्वान हुनुहुन्थ्यो । तर सँगसँगै भारतीय परम्पराका जानकार हुनुहुन्थ्यो । भारतीय परिवेशमा समाजवादको स्वरूप के हुन सक्छ भन्ने विषयमा उहाँहरूले मौलिक सोच अगाडि ल्याउनुभयो । बीपी कोइराला पनि यस समूहसँग सम्बद्ध र प्रभावित हुनुभएको थियो ।
मुख्यतः जयप्रकाश नारायण र डा लोहियाको प्रयासमा बर्मामा सन् १९५३ मा एसियाली समाजवादी सम्मेलन भयो । बीपी र किसुनजी त्यस सम्मेलनमा सहभागी हुनुहुन्थ्यो । त्यस एसियाली समाजवादी सम्मेलनमा जयप्रकाश नारायण र डा लोहियाले समाजवादको सैद्धान्तिक स्पष्टीकरणका दिशामा अभिनव सोच अगाडि राखेका थिए । बर्माका उ वा स्वेले समाजवाद र बौद्ध दर्शनलाई गाँस्नुपर्छ भनेका थिए । अरू देशका नेताहरू पनि बोलेका थिए । बीपीले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो । डा लोहियाको प्रस्तुति सर्वाधिक स्पष्ट, सुसम्बद्ध र ठोस थियो– एसियाले समाजवादको निर्माणका निम्ति आफ्नै बाटो खोज्नुपर्छ । बेलायत, जर्मनी र फ्रान्सको जस्तो औद्योगिकीकरण यहाँ हुन सक्दैन । त्यस्तो सम्पन्नताका लागि चाहिने प्रतिव्यक्ति पुँजी, सापेक्ष जनघनत्व र प्राकृतिक सम्पदा हामीसँग छैन । जे छ, श्रम छ । जो भएका श्रमको सदुपयोग गरेर पुँजी बनाउने भन्ने कुरा पनि गाह्रो छ । पश्चिमी देश तेस्रो विश्वलाई लुटेर सम्पन्न भएका हुन् । उपनिवेशबाट प्राप्त धनले पश्चिमी देशलाई सम्पन्न बनाएको हो । त्यो सम्पन्नताको नक्कल गर्न खोज्नु हुँदैन । हामीले समता, सादगी र सहकारी जीवनमूल्यलाई अपनाएर नौलो किसिमको समाजवाद बनाउन सक्छौँ । समाजवाद सहकारिताको दर्शन हो । यसैले सहकारी ग्रामीण श्रमलाई केन्द्रमा राखेर एसियायी अर्थतन्त्रको नवनिर्माण गर्नुपर्छ, पश्चिमको अनुकरण गरेर हाम्रो समस्या हल हुँदैन । स्मरणीय छ, आफ्ना आखिरी वर्षहरूमा बीपीले यो कुरा बारम्बार दोहोर्‍याउनु भएको छ ।
तर एसियायी सम्मेलनको अभियान तुहिएर गयो । यसै पनि द्वितीय महायुद्धपछिको कालखण्ड शीतयुद्धका चिसा र अँधेरा दिनहरू थिए । सोभियत रुस र अमेरिकाको सामरिक प्रतिस्पर्धाले सबै ग्रस्त थिए । अन्ततः यसै प्रतिस्पर्धाको फलस्वरूप सन् १९८९ मा सोभियत युनियन धराशयी भयो ।
सोभियत युनियन विघटन भएको आज लगभग तीस वर्ष पुगेको छ । यस तीस वर्षमा दुनियाँको कायापलट भएको छ । जनजीवनको प्रत्येक क्षेत्रलाई सूचना प्रविधिले आक्रान्त गरेको छ । कृत्रिम बुद्धि र कौशलले मानिस तिरिमिरी भएको छ । तर नयाँ कुरा हुँदैमा त्यो स्वागतयोग्य छ भन्ने छैन । पुरानो हुँदैमा त्याज्य हुँदैन । विकासको वर्तमान चरणमा मानिस चाहेर पुगेको होइन । घिसारिएर ल्याइएको छ । पुँजीवादी उत्पादन प्रणालीका हातमा मनुष्य एक कठपुतली भएको छ । तर स्वयं उसलाई यो याद छैन ।
फ्रान्सेली राज्य क्रान्तिको एक सय वर्षपछिको तिथि पारेर द्वितीय अन्तर्राष्ट्रियको स्थापना भएको थियो । द्वितीय अन्तर्राष्ट्रिय स्थापनाको एक सय वर्षमा सोभियत युनियनको विघटन हुनु पनि एउटा संयोग हो । सोभियत युनियनको विघटनका केही निश्चित कारण थिए । समाजवादले त्यो कारण पत्तो लगाएर अगाडि बढ्नुपर्ने थियो । विगत सय वर्षे ऐतिहासिक अनुभवको निचोड निकाल्नु त्यस समयका समाजवादी पार्टीहरूको कर्तव्य थियो । त्यति हुँदाहुँदै पनि सोभियत युनियनको विघटनले विश्वमा सबै थरीका समाजवादीहरूलाई निराश र किंकर्तव्यविमूढ मनस्थितिमा पुर्‍याइदियो । लगत्तैपछि दुनियाँमा बजारको सर्वज्ञता र सर्वोच्चताको हुइँया चल्यो । कतिले त इतिहासको अन्त्यसमेत भयो भने ।
सन् २००८ मा अमेरिकामा ठूलो आर्थिक मन्दी आयो । बजार व्यवस्थाको अराजकता ठूलासाना सबैले भोगे । राज्य र सरकारलाई गुहारियो । बजार व्यवस्थाको सर्वज्ञतालाई ठूलो धक्का लाग्यो । त्यसपछि हारेका, थाकेका समाजवादीहरू थोरै तग्रिंए तर नेपालमा अहिले पनि बजारवादको धङधङी छ ।
यस्तो समय नेपाल म्यागजिनले समाजवाद बहस शृंखलामार्फत एउटा सार्थक अभ्यास थालेको छ ।
फ्रान्सेली राज्यक्रान्तिले राजनीतिक स्वतन्त्रता त दियो तर आर्थिक समानता दिन सकेन भन्ने चिन्ताका साथ समाजवादको राजनीति सुरु भएको थियो । तर कुरो यत्ति मात्र थिएन । लेनिनलगायतका क्रान्तिकारीहरूले अर्थवादको घोर विरोध गरका थिए । पुँजीवादले मनुष्यलाई मात्र देखावटी स्वतन्त्रता दिएको छ । मनुष्यका अन्तर्निहित सम्भावनालाई पुष्पित पल्लवित हुन दिएको छैन । आर्थिक स्वावलम्बन त्यस लक्ष्यका निम्ति एक अनिवार्य सर्त हो । तर त्यो पर्याप्त होइन भन्नेमा समाजवादको केन्द्रीय तर्क हो । यो कुरा दोहोर्‍याएर भन्नुपरेको छ– समाजवाद मनुष्यलाई सम्पूर्ण र स्वतन्त्र बनाउने आन्दोलन हो । वृद्धिदर बढाउने मन्त्र होइन ।
बोल्सेभिक क्रान्तिका दौरान रोजा लक्जम्बर्गले उपयुक्त कुरा बुलन्द रूपमा उठाएकी थिइन् । नागरिक अधिकार र स्वतन्त्र आम चुनावलाई प्रतिबन्धित गरेर समाजवादको निर्माण हुन सक्दैन । उनको स्पष्ट कथन थियो– समाजवाद आधारभूत रूपमा नयाँ संस्कृति, सभ्यताको अभियान हो । त्यसलगत्तै एन्टोनियो ग्राम्स्कीले राज्य र क्रान्तिको सम्बन्धलाई लिएर वर्चस्व (हेजिमनी) को मौलिक सिद्धान्त प्रतिपादन गरेका थिए । स्तालिनको नेतृत्वमा हिँडिरहेको विश्व कम्युनिस्ट आन्दोलनले रोजा लक्जेम्बर्गको उपहास र विरोध गर्‍यो । ग्राम्स्कीको अस्तित्वलाई रेखांकित गर्ने कोसिस पनि गरेन । सोभियत युनियन विघटनको परिप्रेक्ष्यमा रोजा, ग्राम्स्की र अन्य अनेकानेक मेधावी चिन्तकहरूको अवदानलाई आत्मसात गरेर मात्र एक्काइसौँ शताब्दीको समाजवाद अगाडि बढ्न सक्छ ।
दोभान राईले महिला उत्पीडनको कुरा उठाउनुभएको छ । यो एक न्यायोचित र भावनाशील प्रश्न त हुँदै हो । तर यस समस्यालाई ऐतिहासिक तथा व्यापक सामाजिक परिप्रेक्ष्यमा बुझ्नुपर्छ । विगत दशकहरूमा महिला आन्दोलनले रुढ मार्क्सवादलाई जो चुनौती दिएका छन्, त्यो ठीक भएको छ । महिला आन्दोलनले उनीहरूले गरेको पारिवारिक श्रमको योगदानको हिसाब गर्न मार्क्सले भ्याएनन् भन्ने औँल्याएका छन् । मार्क्सवाद श्रमिकको गुणगान गरेर कहिल्यै थाकेन तर श्रमिकलाई जन्म दिने महिलाको योगदान उसले गनेन । यस्ता छलफलबाट प्रत्येक अग्रगामी आन्दोलन लाभान्वित भएका छन् । आज महिलावाद आफैँमा एक सशक्त विचारधारा भएको छ ।
महिला, दलित वा अन्य अल्पसंख्यकहरू आज किन सीमान्तीकृत भए अनि यो स्थिति कसरी आयो, कसले ल्यायो, कसरी निराकरण हुन्छ भन्ने सवालले फेरि हामीलाई समाजवादको व्यापक सरोकारको सम्झना गराउनैपर्छ ।
दक्षिण एसियाका समाजवादीहरूमध्ये डा लोहिया महिलाका प्रश्नबारे जागरुक हुनुहुन्थ्यो । उहाँले नै भारतीय पाठकलाई कदाचित पहिलो पटक सिमोन द बुभाएर पढाउनुभएको थियो । जन्मँदै कोही महिला दोस्रो दर्जाका प्राणी हुँदैनन् । समाज र संस्कृतिले महिलालाई यस्तो दर्जा दिन्छ भन्ने सिमनको कथनसँग लोहिया सहमत हुनुहुन्थ्यो ।
साठी वर्षभन्दा अघि नै उहाँको एउटा विचारोत्तेजक लेख छापिएको थियो । लेखमा द्रौपदी र सावित्रीको व्यक्तित्वको तुलनात्मक अध्ययन गरिएको थियो । द्रौपदी कि सावित्री भन्ने त्यस लेखमा डा लोहिया पूर्णरुपेण द्रौपदीका साथ हुनुहुन्छ ।
महिला प्रश्नका दृष्टिले बीपीको उपन्यास तीन घुम्ती एक अनुपम कृति छ । औपन्यासिक अन्वितिको कुरा अहिले छाडिदिऔँ । उपन्यासमा नायिका इन्द्रमायाले पति पीताम्बरसँग सवाल–जवाफ गर्छिन् । इन्द्रमायाका शब्द खरा र स्पष्ट छन् ।
इन्द्रमाया भन्छिन्, ‘मेरो सतीत्व तिम्रो खाँचोको विषय पटक्कै होइन । त्यो त मेरो विषय पो हो । मेरो आस्थासँग सम्बन्ध राख्ने सती या असती जे हुन्छ, त्यो म पो हुन्छु । त्यसकारण म सती भएँ वा असती भएँ भन्ने त मैले निर्णय दिने कुरा पो हो । तिम्रो वास्ता त मेरो प्रेमसँग मात्र हुने होइन र, पिताम्बर ?’
डा लोहियाले नरनारी समताको विषयमा अनेकन लेख लेख्नुभएको छ । महिला उत्पीडनका सांस्कृतिक, आर्थिक, सामाजिक सबै पक्ष केलाउनुभएको छ । त्यहाँ योनिशुचिताको प्रश्न उठेको छ । एउटा संस्थाका रूपमा विवाहको उपहास छ । तर त्यति मात्र छैन । मुख्य कुरो समाजवादी आन्दोलनको प्रहारको केन्द्र एक मात्र निजी सम्पत्ति होइन । आन्दोलनको एक मात्र स्वरूप वर्गसंघर्ष होइन । भारत र नेपालमा जाति व्यवस्थाको अत्याचार उस्तै क्रूर छ । भारतका पिछडाले आरक्षण पाएका हुन् । भाषा पनि शोषणको ठूलो हतियार हो । डा लोहियाले नारी उत्पीडन सँगसँगै भाषा, जातीयता, रंगभेद, राष्ट्रिय विषमता र सबै किसिमका हतियार विशेषगरी आणविक हतियारविरुद्ध एकजुट भएर संघर्ष गर्न आह्वान गर्नुभएको थियो । डा लोहियाले आफ्नो क्रान्ति आह्वानलाई सप्त क्रान्तिको संज्ञा दिनुभएको थियो । क्रान्ति एकांगी हुन सक्दैन । इन्द्रधनुषजस्तो सप्तरंगी हुनुपर्छ । महिला, दलित, जनजाति, पर्यावरण, अणु बम, निजी सम्पत्ति, भाषा र सबै सीमान्तीकृत अस्मिताको संघर्षलाई अँगालेर मात्र क्रान्ति अगाडि बढ्न सक्छ ।
डा लोहियाको सबभन्दा महत्त्वपूर्ण एजेन्डा थियो– विश्व सरकार । सबभन्दा ठूलो सपना थियो, विश्वबाट भिसा प्रणाली अन्त्य होस् ।
बीपी भन्नुहुन्थ्यो– समाजवाद मूलतः एउटा नवीन सभ्यताको निर्माण हो । यो मात्र एउटा नयाँ राजनीति व्यवस्था होइन । फगत उत्पादन प्रणाली र वितरण व्यवस्था त हुँदै होइन । रवर्ट ओवेनले कडा परिश्रम गरेर कमाएको आफ्नो अकुत व्यक्तिगत सम्पत्ति समाजवादको सपनामा बगाएका थिए । उनले आफ्नै खर्चमा खडा गरेका कम्युन चलेनन् । त्यस्ता कम्युनहरू नचलेको परिप्रेक्ष्यमा मार्क्सले वैज्ञानिक समाजवादको कुरा झिके । कुनै एउटा व्यक्तिले बनाउँछु भनेर कहाँ हुन्छ ? समाजवादका निम्ति समय आउनुपर्छ । प्रचुर उत्पादन हुनुपर्छ भन्ने कुरा झिके । तर दोभान राईका शब्दमा भन्ने हो भने आजको विश्व अर्थहीन उत्पादन र अन्त्यहीन उपभोगको दुष्चक्रमा फसेको छ । यस दुष्चक्रले पर्यावरणवादलाई समाजवाद विमर्शको केन्द्रमा राखिनु अर्को अनिवार्यता भएको छ ।
उन्नाइसौँ शताब्दीमा जन्मिएका मार्क्स आफ्ना आखिरी वर्षहरूमा आर्थिक विषमतालाई लिएर चिन्तित थिए । युवा मार्क्सका निम्ति मनुष्यको स्वतन्त्रता र आत्मनिर्वासन मुख्य विषय थियो । निर्वाध र अन्त्यहीन उत्पादनले एक दिन प्रकृतिको विनाश गरेर मानव सभ्यता नाश गर्नेछ भन्ने सोच्ने त्यो जमाना थिएन । आजको उपभोक्तावाद कल्पनातीत थियो । नयाँ अनुभवको आलोकमा मार्क्सलाई परिस्कृत, परिमार्जित र परिवर्तित गर्नु हाम्रो दायित्व हो ।
रुसमा सोभियत व्यवस्था थालिएपछि मार्क्स र एंगेल्सको देवत्वकरण भयो । उनीहरूका हरेक शब्द वेदवाक्य भए । मानव जातिलाई जो चाहिने हो, त्यो मार्क्सले भनेकै छन् । त्यहाँ नभएको कुरा किन चाहियो भन्ने आग्रहका साथ विश्व कम्युनिस्ट आन्दोलन रुढिग्रस्त भयो । यो गलत थियो । नेपालमा पनि अहिले बीपी, मदन भण्डारी, पुष्पलालको नाम जपेर कांग्रेस, कम्युनिस्ट पार्टीभित्र मनपरितन्त्र चलेको छ । बीपीले कुनै समय भन्नुभएको थियो रे– एक चम्चा दूध बाँडेर कहाँ
हुन्छ ? बीपीको यस असान्दर्भिक उद्धरणको भरमा हाम्रा अर्थमन्त्रीहरू भतुवा पुँजीवादका व्याख्याता भए । यो गलत हो । बीपीलाई हामीले आजको सन्दर्भमा बुझ्नुपर्छ । चम्चे दूध वा राजासँग घाँटी जोड्ने भन्ने कुरो आज हास्यास्पद भएको छ ।
कार्ल मार्क्स अथवा बीपीलाई बुझ्दा–बुझाउँदा एउटा असान्दर्भिक उद्धरण घोकेर हुँदैन । समाजवाद घोकन्ती विद्या होइन । यो एक सिर्जनात्मक आन्दोलन हो ।
समाजवादीहरूले इतिहासको गति बुझ्नुपर्छ । त्यसका साथ कदमताल गर्नुपर्छ ।
यस्ता नयाँ विषय कस्ता प्रकारले आइरहेका छन् भन्ने कुरा नेपाल साप्ताहिकको त्यसै अंकमा (माघ २६) मा प्रकाशित हरारीको लेखले देखाएको छ ।
असान्दर्भिक हुनु शोषित हुनुभन्दा पनि धेरै भयानक छ भन्ने उनको कथन छ (हेर्नुस् : नेपाल) । उनको सिंगो आलेखमा समाजवाद शब्दको प्रयोग छैन । तर उनले ठीक एक सय वर्षअघि लेखिएको रोजा लक्जम्बर्गको चेतावनीलाई दोहोर्‍याएका छन् । मनुष्यले छिटोभन्दा छिटो समाजवादी जीवनमूल्यलाई आत्मसात गर्नुपर्छ । होइन भने बर्बरताको विकल्प छैन । रोजा लक्जम्बर्गको चेतावनीलाई प्रतिध्वनित गर्दै हरारीले आफ्ना कुरा भनेका छन् । आजको विश्व कुन अवस्थामा बाँचिरहेको छ भन्ने कुरा हरारीले प्रभावशाली शैलीमा बताएका छन्– विश्व व्यवस्था अहिले त्यस्तो घर भएको छ, सबै यसमा बस्छन् तर कसैले मर्मत गर्दैनन् । अब केही वर्ष त हामीलाई यसले ओत देला तर हामीले यस्तै व्यवहार गरिरह्यौँ भने एक दिन यो घर ध्वस्त हुनेछ । मानव सभ्यता फेरि सर्वव्यापी युद्धको जंगलमा पुग्नेछ । त्यो जंगल कस्तो थियो भन्ने हामीले बिर्सिसकेका छौँ तर एक इतिहासकारका रूपमा मैले भनेको कुरा विश्वास गर्नुस्, तपाईं फेरि त्यहाँ फर्कन चाहनुहुन्न । त्यो तपाईंले कल्पना गर्न सक्नेभन्दा कैयौँ गुणा खराब अवस्था हो । हो, मानव जाति यस्तै जंगलमा उद्भव भयो, हुर्कियो, हजारौँ वर्ष त्यही बाँच्यो र त्यहीँ समृद्ध भयो । तर अहिले हामी त्यहाँ फर्कने हो भने हाम्रो जाति नै समाप्त हुन्छ ।
युवल नोआ हरारी एक युवा चिन्तक हुन् । सौभाग्यवश, उनले समस्या देखाएका मात्र छैनन्, समाधान पनि बताएका छन् । एक्काइसौँ शताब्दीका समस्याबारे उनको एउटा सिंगो किताब छ । समाधानका रूपमा उनले त्यहाँ अंग्रेजीको सीबाट सुरु हुने चार–सी लाई रेखांकित गरेका छन् । ती चार–सी यस प्रकार छन् : 
१. क्रिटिकल थिङकिङ २. कम्युनिकेसन ३. कोलाबोरेसन ४. क्रियटिभिटी मेरा विचारमा उनले यसमा एउटा अर्को सी पनि थप्नुपर्थ्यो । त्यो हो– कम्प्यासन (करुणा) ।
समाजवादी विचारधाराको इतिहासमा धेरै शास्त्रार्थ भएको छ । किताब खुब लेखिएका छन् । कार्ल मार्क्सले नै यो जन्जाल सुरु गरे । उनको पहिलो गम्भीर कृति दी पोभर्टी अफ फिलोसफी प्रुधोका विरुद्ध लेखिएको रचना थियो । फ्रेडरिक एंगेल्सले डाक्टर ड्युहरिङका विरुद्धमा एन्टी ड्युहरिङ लेखेर कीर्तिमान स्थापित गरे । लेनिनले गुरुतुल्य काउत्स्कीका निम्ति गद्दार शब्दको प्रयोग गरे । यस अस्वस्थ परम्परालाई मोहनविक्रमले गद्दार पुष्पलाल भनेर अगाडि सारे । नेपालको कम्युनिस्ट आन्दोलन आज पनि यसबाट प्रभावित छ । बीपी र सुवर्णको उदात्त मानवीयताले कांग्रेसलाई यति ज्यादा बिग्रन दिएन ।
शास्त्रको शुष्क विवादमा समाजवादको आत्मा मरेको छ । मार्क्स, लेनिन, बीपी र मदन भण्डारीको उद्धरणको ओइरो छ । तर उनीहरूको जीवनशैलीको कुरा हुँदैन । उनीहरूको मूल्य, मान्यता र उदात्त साहसिकता बिर्सिइएको छ ।
कुनै एउटा प्रचण्डपथ वा साइनिङ पाथले एउटा पन्थ बनाउन सक्छ । विचारधाराले एउटा बलियो राजनीतिक पार्टी बनाउन सक्छ । त्यो बलियो पार्टीले नेतालाई सत्तामा पुर्‍याउँछ तर समाजवाद बनाउन सक्दैन । समाजवाद मुख्यतः जीवनमूल्यसँग गाँसिएको कुरो हो । बर्मामा बोल्दै गर्दा जयप्रकाश नारायणले भन्नुभएको थियो– समाजवाद दस प्रतिशत मात्र सिद्धान्त हो, बाँकी ९० प्रतिशत व्यवहार हो । कहाँ छ, त्यो व्यवहार आज ?
लेनिनको गद्दार काउत्स्की पृुस्तकमा कतिपय राम्रा कुरा पनि छन् । सत्तामा जाने र राज्य कब्जा गर्ने विषयमा लेनिनले कार्ल काउत्स्कीलाई दुत्कारेका थिए । उनले भनेका छन्, ‘हामीले भएकै राज्य कब्जा गर्न खोजेको होइन, त्यसलाई नष्ट गर्ने हो ।’
अनि सर्वथा नयाँ किसिमको राज्य कायम गर्ने हो । त्यस नयाँ राज्यमा शासक र शासितको भेद समाप्त हुनेछ । दोहोर्‍याई–तेहेर्‍याई लेनिन भन्छन्, ‘पुराना शासकलाई हटाएर तिनका ठाउँमा बस्न जाने होइन, हामीले त सबै किसिमका शासकवादको निर्मूल गर्ने हो ।’ लेनिनले स्टेट एन्ड रेभोलुसन पुस्तकमा यस विचारलाई ज्यादा स्पष्ट रूपमा बताएका छन् । माओ त्से तुङले सांस्कृतिक क्रान्ति ताका यस पुस्तकबाट प्रेरणा लिएका थिए । आजका हाम्रा कांग्रेस र कम्युनिस्ट नेताले लेनिनका त्यस्ता पुस्तिकालाई घोरिएर पढ्नुपर्छ ।
तर आजका मितिमा यति मात्र भनेर पुग्दैन । कुरो नयाँ किसिमको राज्यको मात्र रहेन । नयाँ किसिमको सभ्यता अनिवार्य भएको छ । एउटा तथाकथित वैज्ञानिक विचारधाराले सरकार र राज्यका समीप पुर्‍याउन सक्छ । सभ्यता बनाउन सक्दैन । विश्व समाजवादी आन्दोलनले जन्मदेखि नै साम्राज्यवाद र पुँजीवादको विरोध गरेको छ । तर फेरि हामी उनीहरूद्वारा प्रतिपादित जीवनशैली र जीवनमूल्यको सम्मोहनमा आकण्ठ डुबेका छौँ । एक्काइसौँ शताब्दीको समाजवादले विश्व पुँजीवादको यस जिम्भिकास्त्रको उपचार खोज्नुपरेको छ । मोहपाशको भेदन गर्नुपरेको छ । त्यो कसरी होला ?
इटलीका नामी लेखक इग्नाजियो सिलोनले लेखेका छन्, ‘यसो हेर्दा पुराना समाजवादीहरूबीचको संघर्ष नै अन्तिम क्रान्तिकारी अभियान होला । भूतपूर्व समाजवादी र असली समाजवाद एक दिन बाझिने छन् । त्यस दिन सम्झनुपर्ने हुन्छ, तर्क–वितर्कका आधारमा विचारधारा बनाउन सकिन्छ । तर संस्कृति बनाउन सक्दैन । सभ्यता बनाउन सक्दैन । नयाँ किसिमले बाँच्ने तरिका सिकाउन सकिँदैन । स्वतन्त्रताको अर्थ बुझाउन सकिँदैन । स्वातन्त्र्यबोध चाहिन्छ । स्वतन्त्रता तपाईंलाई कसैले सित्तैमा दिँदैन ।’ अन्त्य नभए पनि नेपालमा यो उद्धरण स्मरणीय भएको छ ।

Page 39
Page 40
Page 41
Page 42
Page 43
रिपोर्ट

गाँजाको राजनीति

गाँजा खेती फुकुवाका लागि विभिन्न संगठित प्रयास
- जनक नेपाल
ललितपुरको कार्यविनायकमा प्रहरीको सहयोगमा गाँजा नष्ट गर्दै स्थानीय 

अमेरिकी सहायक विदेशमन्त्री मार्गरेट पी गार्फिल्ड काठमाडौँ ओर्लिन्छन् । ३ भदौ ०३४ मा राजा वीरेन्द्रलाई भेटेर उनले विकास सहायता र मानव अधिकारको कुरा मात्र गर्दैनन्, गाँजा प्रतिबन्ध लगाउन राष्ट्रपति जिम्मी कार्टरको विशेष सन्देश पनि सुनाउँछन् ।
कार्टरको सन्देशमा गाँजामा प्रतिबन्ध नलगाए नेपालसँगको द्विपक्षीय सम्बन्धमै असर पर्ने कूटनीतिक चेतावनी मिसिएको थियो । गार्फिल्डले ‘अडियन्स विथ किङ वीरेन्द्र–नार्कोटिक’ नाम दिएको सो टेलिग्राम तीन दशकपछि विकिलिक्स रिपोर्टबाट बाहिरियो ।
नचाहँदा–नचाहँदै अमेरिकी दबाबमा नेपाल संयुक्त राष्ट्रसंघको लागूऔषध उत्पादन तथा आपूर्ति अभिसन्धि गर्न बाध्य भएको थियो । २५ वर्षपछि सन् १९८६ मा अभिसन्धिमा हस्ताक्षर गर्दा नेपाल अन्तिम राष्ट्र थियो । तर तीन दशकपछि परिस्थिति उल्टिएर आउँदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा गाँजा एउटा बलियो चुनावी मुद्दा बनेको छ ।
डेमोक्र्याट उम्मेदवारको दौडमा रहेका बर्नी स्यान्डर्सले आफूलाई राष्ट्रपति निर्वाचित गरिए गाँजाको प्रतिबन्ध फुकाउने पहिलो निर्णय हुने घोषणा गरिसकेका छन् । अमेरिकी सिनेटमा अहिले गाँजाको प्रतिबन्ध फुकुवा गर्ने विधेयक विचाराधीन छ । रिपब्लिक पार्टी बलियो रहेकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले विधेयक पारित गराएर डेमोक्र्याट उम्मेदवार स्यान्डर्सलाई मुद्दाविहीन बनाउन सक्ने अड्कलबाजी गरिँदै छ ।
राष्ट्रसंघीय अभिसन्धिले गाँजालाई कडा खाले लागूऔषध र औषधीय गुण नभएको खतरनाक सूचीमा राखेको थियो । १० माघ ०७५ मा विश्व स्वास्थ्य संगठनले पत्र लेख्दै विभिन्न अनुसन्धानबाट गाँजामा औषधीय गुणहरू रहेको पुष्टि भएको सिफारिस गरेपछि राष्ट्रसंघ निर्णयको चरणमा पुगेको छ ।
२४ फागुनमा भियनामा भएको बैठकमा नेपालले ‘नियन्त्रित वैध’ बनाउनुपर्ने आफ्नो मत राखिसकेको छ । गृह मन्त्रालयका उपसचिव नारायणप्रसाद दवाडी नेतृत्वको नेपाली टोली भियना पुगेको थियो । तर तीन शक्ति राष्ट्र अमेरिका, चीन र रुसले त्यसका लागि समय मागेकाले फुकुवाको निर्णय भने हुन सकेन । “गाँजा, भाङ र चरेसमा लागूऔषधभन्दा ज्यादा औषधीय गुण छन् भन्नेमा सिंगो विश्व करिब–करिब सहमत भइसकेको छ,” दवाडीसँगै भियना पुगेर फर्केका एचआईभी तथा लागूऔषध क्षेत्रका अभियन्ता राजीव काफ्ले भन्छन्, “युरोप र अमेरिकामा गाँजा राजनीतिक मुद्दा बनिसकेकाले पछाडि फर्किने स्थिति नआउला ।” आउँदो डिसेम्बरमा बस्ने अर्को बैठकबाट राष्ट्रसंघले गाँजा खेती फुकुवा गर्नेमा उनी विश्वस्त देखिन्छन् ।
अमेरिकाको संघीय कानुनले गाँजा खेतीमा प्रतिबन्ध लगाए पनि राज्यहरूले भने सन् २०१३ देखि नै फुकुवा गर्न थाले । त्यो देखेर उरुग्वेले पनि गाँजा फुकुवा गर्‍यो । अहिले अमेरिकाका ५० मध्ये ३५ राज्यमा फुकुवा भइसकेको छ । सन् २०१६ मा क्यालिफोर्नियाले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो । त्यतिबेला ५० हजारभन्दा धेरै कैदी गाँजाजन्य अभियोगमा जेलमा थिए । ती सबैलाई एकै साथ रिहा गरिनुका साथै क्षतिपूर्तिबापत उनीहरूलाई गाँजा खेती र कारोबारको लाइसेन्स दिइयो ।


क्यानडाको राजनीतिमा पनि एकाएक गाँजा खेती चुनावी मुद्दा बनेको छ । सन् २०१५ को निर्वाचनबाट प्रधानमन्त्री जस्टिन टुडोले चुनावी वाचाअनुरूप गाँजालाई फुकुवा गर्न चाहेका थिए । युवाहरू लागूऔषध दुर्व्यसनमा फस्ने भन्दै खासगरी महिला समूहले विरोध जनाएपछि दुई वर्ष थाती राखियो ।
२०१८ अक्टोबरमा नियन्त्रित रूपमा खुला गरेपछि भने फरक दृश्य देखियो । कानुनी बन्दोबस्तीले लागूऔषधका रूपमा गाँजाको प्रयोग गर्ने युवा संख्या घटेको त्यहाँका सरकारी तथ्यांकले देखाएका छन् । प्रतिबन्धित अवस्थामा १९ दशमलव ८ प्रतिशत युवाले लागूऔषध प्रयोग गर्ने गरेकामा कानुनी फुकुवापछि १० दशमलव ४ प्रतिशतमा झरेको छ । बरु गाँजा प्रयोगकर्ता वृद्धवृद्धाको संख्या बढेको देखिएको छ ।
नेदरल्यान्डले सन् २०१६ मै गाँजा खेती फुकुवा गर्‍यो । लेबनानले खुला गर्न समिति बनाइसकेको छ भने मेक्सिकोमा कानुन निर्माण भइरहेको छ । त्यस्तै, अफ्रिकी मुलुक मलावी र दक्षिण अफ्रिकाले गत महिना खुला गरेका छन् ।
राष्ट्रसंघीय अभिसन्धिमा सम्झौता गर्दै नेपालले गाँजा र अफिमलाई परम्परागत खेती भन्दै लागूऔषध नमान्ने सर्तसहित हस्ताक्षर गरेको थियो । एक वर्षसम्म कसैले आपत्ति नजनाए सर्त स्वीकार हुन्छ । भियतनामको त्यस्तै सर्त अमान्य भयो । नेपालको सर्तमा भने कुनै पनि देशले आपत्ति जनाएनन् । त्यसैले अन्तर्राष्ट्रिय अभिसन्धिअनुसार नेपालमा गाँजा खेती प्रतिबन्धित गर्नु पर्दैन ।

लागूऔषध नियन्त्रण ऐन, ०३३ ले पनि ‘पश्चिमी पहाडी भेगमा प्राकृतिक रूपमा आफैँ उम्रने जंगली गाँजाको बोटबाट तोकिएको समयसम्मका लागि चरेस उत्पादन गर्न, संग्रह गर्न, राख्न र खरिद–बिक्री गर्ने सम्बन्धमा नेपाल सरकारले नियम बनाई व्यवस्था गर्न सक्नेछ र सोअनुसार अनुमतिपत्र प्राप्त गर्दा अपराध गरेको मानिने छैन’ भनेको छ ।
औषधोपचारका निम्ति चिकित्सकको सिफारिसमा कुनै व्यक्तिले अनुमतिपत्र प्राप्त पसलबाट लिन सक्ने भनिएको छ । तर बितेका ४३ वर्षमा कुनै नियमावली बनाइएन । त्यसले गाँजा खेती अवैध तर भाँगोको गेडा, तेल, रेसा कपडा वैधको स्थिति छ ।
अमेरिकी दबाबमा गाँजा खेतीमाथि प्रतिबन्ध लगाएका राजा वीरेन्द्रले आठ महिनापछि नै ७ वैशाख ०३५ मा राष्ट्रपति कार्टरलाई पत्र लेख्दै ‘गाँजा प्रतिबन्ध लगाएपछि जनताको आयस्रोत गुमेर झन् गरिब भएको र आफूलाई फुकुवा गर्न अनुरोध आएको’ बताएका थिए । त्यसपछि नै हो, अमेरिकाले गाँजाको अधिक खेती हुने जिल्लालाई लक्षित गरी राप्ती एकीकृत ग्रामीण परियोजना लागू गरेको । यो परियोजना सकिएको केही वर्षमै राप्तीबाट माओवादी द्वन्द्व सुरु हुनुको एउटा कारण स्थानीयको आयस्रोत रोक्ने गरी गाँजामाथि लगाइएको प्रतिबन्धलाई पनि मान्ने गरिएको छ ।
फुकुवाको कसरत : मकवानपुरका सांसद विरोध खतिवडाले ९ फागुन ०७५ को संसद् बैठकमा पहिलोपल्ट गाँजाको मुद्दा प्रवेश गराए । अमेरिका र क्यानडाले गाँजाको प्रतिबन्ध फुकुवा गरेर औषधी बनाएर वैधानिक आयआर्जन गरिरहेको उल्लेख गर्दै उनले भनेका थिए, ‘सम्पन्न मुलुकहरूले प्रतिबन्धलाई नयाँ ढाँचा दिएर आम्दानी गर्ने, हाम्रोजस्तो गरिब मुलुकका चेपाङ र तामाङले जेलमा बिताउनुपर्ने । योभन्दा लाजमर्दो के हुन सक्छ ?’ उनले जुन विधिबाट अमेरिका र क्यानडाले गाँजालाई वैधता दिएका छन्, सरकारले त्यही ढंगले नेपालमा पनि मान्यता दिनुपर्ने तर्क राखे ।
नेपाल प्रहरीले गाँजा र चरेस नियन्त्रण गर्न भन्दै बर्सेनि ५ सय बिघाभन्दा धेरै जग्गाका लाखौँ गाँजाका बोट फँडानी गर्दै आइरहेको छ । झन्डै ९ हजार क्षमता रहेका नेपालका ७४ कारागारमा अहिले करिब २२ हजार कैदी तथा बन्दी छन् । लागूऔषध दुर्व्यसनसम्बन्धी झन्डै ८ हजार कैदीमध्ये ८० प्रतिशतले गाँजा तथा चरेस ओसारपसारको सजाय भोग्दै छन् ।
ऐनको दफा १४ मा गाँजा सेवन गर्नेलाई १ महिना कैद वा २ हजार जरिवाना, खेती गर्नेलाई घटीमा ३ महिना कैद वा ३ हजार जरिवाना र बढीमा ३ वर्ष कैद वा ५ देखि २५ हजारसम्म जरिवानाको व्यवस्था थियो । गाँजा उत्पादन गरी बिक्री–वितरण, निकासी–पैठारी, ओसारपसार र सञ्चय गर्नेलाई घटीमा ३ महिना कैद वा ३ हजार जरिवाना र बढीमा २ देखि १० वर्ष कैद वा १५ हजारदेखि १ लाखसम्म जरिवाना तोकिएको थियो ।
लागूऔषध नियमावली कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकले ती सजाय बढाएको छ । संशोधित ऐनले गाँजा सेवन गर्नेलाई १ महिना कैद र १ हजारदेखि ३ हजार जरिवाना, खेती गर्नेलाई परिणाम हेरी ७ वर्ष कैद र ५० देखि ७० हजारसम्म जरिवाना तोकिएको छ ।
त्यस्तै, गाँजाको कारोबार गर्नेलाई ८ देखि १५ वर्षसम्म कैद र २ लाखदेखि ५ लाखसम्म जरिवानाको व्यवस्था छ । तर गाँजा मुद्दामा कारागारमा पर्नेहरू अधिकांश विपन्न किसान, ओसारपसार गर्ने साधनका सवारी चालक र सहचालक रहेको कारागार स्रोत बताउँछ ।


पूर्वसचिव भीम उपाध्याय मदिरा कडा लागूऔषध भए पनि खुलेआम राखेर गाँजामा प्रतिबन्ध लगाउनुको अर्थ नरहेको बताउँछन् । “गाँजा खेती गर्ने, ओसार्ने र सेवन गर्नेमाथि कानुन लगाएर सरकारले दोहोरो क्षति बेहोरिरहेको छ,” उनी भन्छन्, “एकातर्फ गाँजाबाट हुने आयस्रोत बन्द गराएको छ भने अर्कोतर्फ तिनै गरिबलाई जेलमा राखेर वार्षिक करोडौँ खर्च गरिरहेको छ ।”
एक वर्षपछि सांसद खतिवडाकै नेतृत्वमा ६ माघमा संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरियो । सो प्रस्तावमा सन् १९७० को दशकमा भाँगो तथा गाँजालाई लागूऔषधमा समावेश गर्न नेतृत्व गरेका अमेरिका, क्यानडा, जर्मनीसमेत ६५ भन्दा धेरै देशले सरकारी निगरानी र नियन्त्रणमा रहने गरी आ–आफ्ना देशका किसानको आम्दानी वृृद्धिका लागि खुला गरिसकेकाले फुकुवा गर्नुपर्ने भनिएको छ ।
प्राकृतिक उपचारका लागि औषधी उत्पादन गर्न, किसानको आम्दानी वृद्धि गरी जीवनस्तर उठाउन र विदेशी मुद्रा आर्जनका लागि गाँजा फुकुवा हुनुपर्ने तर्क गरिएको छ ।
पूर्वसभामुख ओनसरी घर्तीसहित ४५ सांसदले हस्ताक्षर गरेको प्रस्तावमा गाँजा खेतीका लागि नेपाल अब्बल भएको भन्दै सरकारी निगरानी र नियन्त्रणमा तोकिएको क्षेत्रमा वैधानिकता दिन ढिला गर्न नहुने भनिएको छ । वर्षको ३ सय दिन घाम लाग्ने मध्यपहाडी क्षेत्रमा उत्पादन हुने भएकाले नेपालको गाँजालाई उत्कृष्ट मानिन्छ ।
गाँजा फुकुवाका लागि अहिले संगठित प्रयास भइरहेका छन् । संसद्मा १९ फागुनमा पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङले निजी विधेयकका रूपमा गाँजालाई प्रवेश गराएका छन् ।
सत्तारुढ नेकपाका अधिकांश सांसद त्यसलाई सरकारी विधेयक बनाउन कोसिस गरिरहेका छन् । प्रस्तावक तामाङ गाँजा औषधीय गुणयुक्त बहुउपयोगी वनस्पति भएकाले यसलाई लागूऔषधका रूपमा मात्र हेर्न नहुने बताउँछन् । गाँजामा हुने टीएचसी र सीबीडीजस्ता बहुमूल्य औषधीय तत्त्व निर्यात गर्न सके नेपालको मुख्य आयस्रोत गाँजा बन्न सक्ने दाबी गर्दै उनी भन्छन्, “उखुजस्तै गाँजा पनि नगदे बाली बन्न सक्छ । त्यसका लागि सबभन्दा पहिले प्रतिबन्ध हटाउनुपर्छ ।”

उखुजस्तै गाँजा पनि नगदे बाली बन्न सक्छ । त्यसका लागि सबैभन्दा पहिले प्रतिबन्ध हटाउनुपर्छ ।
— शेरबहादुर तामाङ
पूर्वमन्त्री एवं सांसद

गाँजाबाट मुख्यतः चार किसिमको फाइदा लिन सकिने विज्ञहरू बताउँछन् । भाङको तेलले युरोप, अमेरिका र जापानमा महँगो मूल्य पाइरहेको छ । गाँजामा पाइने तत्त्वबाट धेरै खाले औषधी बन्न सक्छन् । रेसाबाट कपडा, प्लास्टिक, जैविक डिजेल, प्लाइउडजस्ता औद्योगिक उत्पादन हुन सक्ने गाँजा अभियन्ता सुजित दत्त बताउँछन् । भन्छन्, “गाँजामा आधारित उद्यमका लागि प्रो–एक्टिभ भएर लाग्ने बेला भइसकेको छ ।”
अधिकांश शीर्ष नेतासम्म गाँजा फुकुवाको आर्थिक, सामाजिक र राजनीतिक महत्त्व बुझाउन अभियन्ताहरू पुगिसकेका छन् । २७ फागुनमा बूढानीलकण्ठस्थित निवासमै पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई उनीहरूले भेटे । भेटको संयोजन गरेका नेविसंघ नेता ऋषिकेशजंग शाहका अनुसार देउवाले पार्टी नेताहरूसँग छलफल गरेर कांग्रेसले गाँजाबारे धारणा बनाउने बताएका थिए । शाह भन्छन्, “गाँजा लाखौँ किसानको आयवृद्धिसँग जोडिएकाले कांग्रेसले पनि एजेन्डा बनाउनुपर्छ भनेर म लागेको छु ।”
विधेयकमा गाँजालाई लागूऔषध वा मनोरन्जनका रूपमा प्रयोग गर्ने कुनै प्रस्ताव गरिएको छैन । तर क्यासिनो मोडलमा विदेशी पर्यटकका लागि त्यस्ता मनोरन्जन स्थल पनि खोल्न सकिने सांसद तामाङ बताउँछन् ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल भने एकैसाथ खुला गर्दा नियन्त्रण तथा निगरानी गर्न कठिन हुने बताउँछन् । भन्छन्, “एकै पटक देशभर छर्दा नियन्त्रण गर्न सकिँदैन । त्यसैले निगरानी र नियन्त्रणको उपयुक्त विधि बनाएर मात्र प्रतिबन्ध फुकुवा गर्नुपर्छ ।”
औषधी उत्पादन रोकियो ः सवा सय वर्षअघि ब्रिटिस उपनिवेश छँदै भारतमा गाँजाको विस्तृत अध्ययन गरिएको थियो । पञ्जाब कमिसार डब्लु म्याकवर्थ योङको अध्यक्ष रहेको इन्डियन हेम्प ड्रग्स कमिसन (१८९३–९४) मा भनिएको थियो, ‘ठिक्क खाए फाइदा नै छ, रक्सीजति खराब छैन ।’ नेपालबाट त्यतिबेलै गाँजाका उत्पादन निर्यात हुने गरेकाले त्यसबारे दरबारलाई सोधिएको र रेसाका लागि गाँजा खेती हुने गरेको जवाफ पाएको प्रतिवेदनमा उल्लेख छ ।
गाँजालाई लागूऔषधका रूपमा प्रतिबन्ध लगाउने तयारी हुँदै गर्दा सन् १९४४ मा न्युयोर्कका मेयर फियोलरेलो एच ला ग्वार्दियाले ३१ जना स्वतन्त्र वैज्ञानिक लगाएर अनुसन्धान गराएका थिए । पाँच वर्ष लगाएर गरिएको अनुसन्धानले पनि गाँजामा औषधीय गुण रहेकाले हानिकारक लागूऔषधका रूपमा मात्र लिन नहुने निष्कर्ष निकालेको थियो । तर त्यसको कुनै सुनुवाइ नगरेरै प्रतिबन्ध लगाइयो ।
१० असोज ०३३ मा लागूऔषध नियन्त्रण ऐन लागू गर्नुअघिदेखि नै सिंहदरबार वैद्यखानाले गाँजाबाट एक दर्जनभन्दा धेरै किसिमका औषधी उत्पादन गर्थ्यो । गाँजा प्रतिबन्धको एक दशकसम्म जेनतेन ती औषधी उत्पादन भइरहे । तर गाँजा पाइन छाडेपछि औषधी उत्पादन रोक्नुपर्ने स्थिति आएको वैद्यखाना प्रमुख डा वंशदीप अर्याल बताउँछन् । “गाँजाको औषधीय गुणबारे सम्बद्ध निकायमा बारम्बार जानकारी गराएकै छौँ,” उनी भन्छन्, “कच्चा पदार्थ पाए हामी निर्यात स्तरीय औषधी उत्पादन गर्न सक्छौँ ।”
अर्यालका अनुसार वैद्यखानाले गाँजाबाट उत्पादन गरेका १० औषधी लोकप्रिय थिए । सबभन्दा धेरै रातोबरी नामक झाडापखालाको औषधी प्रख्यात थियो । दोस्रो विश्वयुद्धका सिपाहीका लागिसमेत रातोबरी निर्यात भएको वैद्यखानाको रेकर्डमा छ । अर्को भोग्य सुन्दरी नामक यौनवर्द्धक औषधी पनि निकै समय चल्यो । गाँजा र भाँगो तेलबाट रुघाखोकी एवं ज्वरो, झाडापखाला, मानसिक रोग, छारे रोग र यौनवर्द्धक औषधी उत्पादन हुने डा अर्याल बताउँछन् ।
महान्यायाधिवक्ताको कार्यालयले लागूऔषध नियन्त्रण ऐन, ०३३ को कार्यान्वयन प्रभावकारिताबारे ०७१ मा गरेको अनुसन्धानमा पनि गाँजालाई औषधीको रूपमा नियन्त्रित खेती गर्न आवश्यक रहेको उल्लेख छ । औषधीका लागि अति आवश्यक पर्ने वनस्पति लागूऔषधमा प्रयोग हुने भनी तिनको खेती नष्ट गर्ने गरिएको र तिनै वनस्पतिबाट बनेका महँगा औषधी विदेशबाट आयात भइरहेको उल्लेख गर्दै प्रतिवेदनमा छ, ‘अतः त्यस्ता वनस्पतिहरू नष्ट गर्नुको सट्टा सरकारद्वारा निर्देशित र नियन्त्रित रूपमा खेती गर्नु उपयुक्त हुन्छ । नियन्त्रित खेतीले एकातर्फ औषधीको कच्चा पदार्थ आपूर्तिलाई आत्मनिर्भर बनाउँछ भने अर्कोतर्फ लागूऔषध प्रयोग गर्नबाट वञ्चित गर्ने समयमा आवश्यक अनुगमन हुन सक्छ ।’

Page 44
Page 45
Page 46
Page 47
रङ

एक लाइनमै पन्च

- सुनिता लोहनी

अरूलाई हँसाउन सजिलो लाग्छ तर अरुले हँसाउन नसकेजस्तो लाग्छ, उनलाई । त्यसैले होला, कमेडी च्याम्पियन नेपालको प्रतिस्पर्धा अवधिभर खुलेर कमै हाँसे, हिमेश पन्त, २३ । त्यसो त निर्णायक सन्तोष पन्तलाई पनि राम्रा जोकमा हाँस्न कन्जुस्याइँ गरेको आरोप लाग्यो । दुवै पन्त भएकाले नहाँस्दा कोरोना भाइरस सर्छ कि क्या हो भन्दै हिमेशले मजाक पनि उडाए ।
लजिकल कमेडियन हुन्, हिमेश । प्रतिस्पर्धामा रहुन्जेल सुरुदेखि अन्तिमसम्म सबभन्दा अब्बल उनै ठहरिए । उनका जोक सामाजिक, आर्थिक र बढी राजनीतिक क्षेत्रका हुन्थे । साथमा शेरबहादुर देउवा, प्रचण्ड, केपी ओलीलगायत बलिउड हिरोहरुको पनि क्यारिकेचर गरे । अन्ततः टाइटल उनले नै जिते ।
विद्यालयका कार्यक्रममा चुट्किला, प्यारोडी गीत, हाँस्य कविता सुनाउाथे, हिमेश । शैलेन्द्र सिम्खडा, मेरी बास्सै र मह सञ्चारका कार्यक्रम हेरेर रमाउाथे र त्यस्तै गर्ने कोसिस गर्थे । एसएलसीमा स्कुल टपेपछि काठमाडौँ हानिए । विज्ञान संकायमा भर्ना भए । तर हँसाउने क्रम भने रोकिएन ।
कलेजका कार्यक्रममा उनी स्ट्यान्ड अप कमेडी गर्थे तर त्यतिबेलासम्म आफूले गरेको काम के हो भन्ने थाहा थिएन । त्यही बीचमा हिमेशले अमेरिका र भारतका स्ट्यान्ड अप कमेडियनका शो हेर्न पाए । पहिलोपल्ट केविन हार्ट, क्रिस रकका शो देख्दा छक्कै परे । क्रिसले त बोले मात्रै पनि उनलाई हाँसो लाग्थ्यो रे । क्रिसको यथार्थवादी कमेडीमा हिमेश आफूलाई पाउँथे र हाँस्थे । यस्तै कमेडी गर्न सकेँ भन्ने लाग्थ्यो उनलाई ।
प्लस टु सकेलगत्तै सर्ट फिल्ममा काम गर्ने अवसर पाए । हौसिएर १ महिने अवधिमा एउटै प्रोजेक्टका लागि ४० वटा सर्ट फिल्म खेले, बिनापारिश्रमिक । विडम्बना, ती कुनै पनि फिल्म कुनै प्लेटफर्ममा हेर्न पाएनन् ।
संघर्षका यी दिनमा थुप्रै मान्छेलाई चिनिसकेका थिए, हिमेशले । त्यसैले हिमालयन टीभीमा दिमाग खराब सिरियलमा काम पाए । दिमाग बिग्रेको क्र्याक ठिटोको भूमिकामा थिए, उनी । भन्छन्, ”कमेडीको भोक थियो, जे रोल पाए पनि गर्न तम्सिन्थेँ ।”
धादिङको नौबिसेभन्दा केही पर सात किल्ला छ, त्यही गाउँमा हिमेशले कलाकार बन्ने सपना देखे । उनलाई परिवारबाट कहिल्यै रोकतोक भएन । उनका बुबा डुनोटको व्यापार गर्छन् । पुल्चोक इञ्जिनियरिङ कलेजमा नाम ननिक्लेपछि अस्कलमा बीएस्सी भर्ना भए । त्यही बेला स्ट्यान्ड अप कमेडी चलाउने भन्दै कमेडी सर्कल सुरु भयो । हिमेश, आदर्श मिश्रा र साजन त्यसैमा संलग्न भए । ६ महिनापछि २५ सय पारिश्रमिक पनि पाए । भन्छन्, “म सबैभन्दा धेरै कन्टेन्ट दिन्थेँ । त्यही भएर सर्कलमा मेरो शो बढी छ ।”
सिक्ने क्रममा उनले एक दिन कुनाल काम्रको द गभर्मेन्ट एन्ड हिन्दुजम कमेडी हेरे । आफूलाई राजनीति मन पर्ने भए पनि अन्य साथीहरुले मन नपराउने हुँदा उनी राजनीतिक जोक गर्दैनथे । तर काम्रले सहज पाराले भारतीय राजनीतिमा हानेको व्यंग्यले हिमेशको मन मात्र छोइन, हाँसो पनि उत्तिकै उठ्यो । राजनीतिक जोक पनि राम्ररी तयार पार्‍यो भने दर्शक हाँस्छन् भन्ने उनले बुझे । च्याम्पियनको यात्रामा जतिबेला प्रतिस्पर्धा खतरनाक होलाजस्तो लाग्यो, उनले राजनीतिक कमेडी गरे ।


कमेडी कन्टेन्ट लेख्न हिमेशलाई कहिल्यै सास्ती भएन । च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे । उनी १ घन्टादेखि एक साता लगाएर पनि कन्टेन्ट तयार पार्न सक्छन् । भन्छन्, ”कमेडीका लागि कन्टेन्ट नै महफ्वपूर्ण हो । कन्टेन्ट नै लेख्न आएन भने गाह्रो छ ।”
जहाँ सुमन कार्की, सुमन कोइराला चरित्र पक्रेर कमेडी गर्न खप्पिस थिए भने हिमेश स्ट्यान्ड अपमा । तर भिटेनको चरित्रलाई जिटेन बनेर उनले स्ट्यान्ड अप गर्दा उक्त चरित्र निकै चर्चित भएको थियो । सुरुमा च्याम्पियनमा सहभागी हुने/नहुनेमा दोधारमै रहेका बेला डिजिटल भिडियो पठाएका हिमेशले शो यति धेरै चर्चित होला भन्ने सोचेका थिएनन् । पछि प्रस्तुति ट्रेन्डिङमा आउन थालेपछि खुसी भए ।
हिमेशलाई भोटिङ प्रणाली भने ठीक लागेको छैन । एक जनाले एक पटक मात्र भोट हाल्न पाउनुपर्ने उनको जिकिर छ । साथीहरुले शीर्ष १० देखि नै क्याम्पेन गर्दै आफ्नै गोजीको पैसा खर्च गरेको पनि उनले शोमै थाहा पाए । यस्तै, कतिपय बेला निर्णायकले दर्शक हाँसेकै आधारमा कमेडियनलाई उत्कृष्ट प्रस्तुति भयो भन्दै तारिफ गरेको हिमेशलाई पटक्कै चित्त बुझ्दैन ।
भविष्यमा आफूले रुचाउने खालकै कमेडी गर्न चाहने हिमेश मासले मन पराउने कमेडी मात्र गर्न चाहँदैनन् । २५ लाख र गाडी जिते पनि हिमेशको हातमा पर्न अझै एक महिना लाग्छ । जितसँगै साथीहरुले पार्टी मागेका छन् तर पैसा सुको नभएको उनी सुनाउँछन् । हिमेशले १ लाख रुपैयाँ मृगौलापीडितलाई र २५ हजार क्रिकेट स्टेडियम बनाउन धुर्मुस सुन्तलीलाई दिने घोषणा गरेका छन् ।
च्याम्पियनमा सबै कुरा सहज पनि भएन । शीर्ष ६ मा हुँदा धार्मिक विषयमा जोक गर्‍यो भनेर हिमेशलाई भोट नगरौँ भन्दै क्याम्पेन नै चल्यो । त्यसपछिका लगातार दुई शृंखलामा उनको प्रस्तुति खस्कियो । तनावले लेख्न पनि सक्दैनथे । पछि च्याम्पियनले नै माफी माग्न अह्रायो । उनले माफी मागे पनि । त्यसैको बदला लिन शीर्ष ३ मा हुँदा धर्मबारे ‘म चुइँक्कै बोल्दिनँ’ भन्दै व्यंग्य हाने, ‘धर्म मेरो मुटुमा छ ।’ त्यसपछि लगातार धर्मबारे जोक हान्दै आएको उनी सुनाउँछन् । भन्छन्, “जोकले आफ्नै थेरापी भइरहेको छ ।”

Page 48
Page 49
कविता

मृत्युचेत गुमाउँदा

- नेपाल संवाददाता

सधौ कसै न कसैको
अस्तु बोकेर बहने
बाग्मतीको किनारै किनार
उसले कति यात्रा गर्‍यो, गर्‍यो

सधौ कसै न कसैको
आश र लास जल्ने घाटमा
ऊ कति मलामी गयो, गयो

सबैलाई जस्तै उसलाई पनि
कहिलेकाहीा मसान वैराग्यले
नछोपेको होइन
सबैलाई जस्तै उसलाई पनि
कहिलेकाहीा एकल नैराश्यले
नरूवाएको होइन
बिहानी घाम उकाली लाग्दा
पातलिएको हुस्सुजस्तै
उसको नैराश्य आफौ
नहराएको पनि होइन

हुुस्सु आइरह्यो, हुस्सु गइरह्यो
बाग्मती किनार र मसानघाटमा
उसको यात्रा चलिरह्यो
भ्रममा बााचेको मान्छे ऊ
भ्रमलाई नै जिन्दगी ठानिरह्यो

तर त्यो दिन भने फरक थियो

घरछेउकै फुटपाथमा
गुनगुनाएर हिाडिरहेको उसलाई
के थाहा
त्यहाा शनि, मंगल र केतुको बास थियो
उसलाई के थाहा
त्यही बिन्दुमा राहु विस्फोट हुादै थियो

मासुका फाल्सा–फाल्सा
शरीरका टुक्रा–टुक्रा
बाटोभरि छरियो
कसैलाई भेट्न नपाई
ऐय्या पनि भन्न नपाई
जीवनलाई ऐनामा हेर्नै नपाई
सबै छाडेर, सबैलाई छाडेर
एकै पलमा ऊ गयो

यसरी नै हरदिन
जान्छन् मान्छेहरू
सोच्दै नसोचेको क्षणमा
सोच्दै नसोचेको मोडमा
आफन्त गए, साथी गए
परिचित गए, अपरिचित गए
एक दिन म पनि जानेछु

कसलाई के थाहा
मृत्यु कहिले, कुन बेला
कसरी, कहाा
कसलाई लिन आउाछ ?

फूल, माला, खादा, सम्मान
चर्चा–परिचर्चा, स्मृति–वार्षिकी
मूर्ति, म्युजियम
सबैको अर्थ बााच्नेले खोज्ने हो
जानेलाई अमरत्वको अर्थ हुादैन

अवचेतनामा हरेक मान्छेलाई
थाहा हुन्छ
कुनै पनि बेला फुट्न सक्ने मुटु
छातीमा बोकेर
कुनै पनि बेला चर्किन सक्ने
धरतीमा टेकेर
ऊ माटोमा विलीन हुन
पर्खिरहेको निरीह प्राणी हो

अवचेतनामा हरेक मान्छेलाई
थाहा हुन्छ
ऊ कुनै पनि बेला ढल्न सक्ने
देहमा उभिएर
कुनै पनि बेला सुक्न सक्ने
नसामा जेलिएर
शून्यतामा समाहित हुन
पर्खिरहेको संयोगको अस्तित्व हो

तर पनि
मान्छे किन लोभी हुन्छ ?
मान्छे किन धूर्त हुन्छ ?
मान्छे किन क्रूर हुन्छ ?
मान्छे किन अतृप्त हुन्छ ?
पद, पैसा, प्रतिष्ठाको
मान्छे किन दास हुन्छ ?
आफ्नै आाखामा झर्न
मान्छे किन अभिशप्त हुन्छ ?

अवचेतन मनको मानव निरीहतालाई
चेतन मनको अत्याकांक्षाले जित्न खोज्दा
मान्छेले जानीजानी मृत्युचेत गुमाउाछ
मानवता त्यहीाबाट भंग हुन्छ ।

- रवीन्द्र मिश्र

Page 50
पुस्तक

चोटिला व्यंग्यचित्र

- रवीन्द्र मानन्धर

बिहान पत्रिका हात पर्नेबित्तिकै कार्टुनको कुना खोज्ने र त्यसलाई हेरेपछि मात्र अरु समाचारतिर नजर लगाउने को
नहोला ! विद्यार्थीकालमा पुस्तकालयमा गणितका कोर्सबुकको सट्टा चित्रकलाका किताब खोज्ने र पाएसम्म चुट्किलाका किताब संकलन गर्ने पारखीले कार्टुनको मोटो किताबै पाए कस्तो होला ! कार्टुनिष्ट अविन श्रेष्ठको अविनको कार्टुन संग्रह भाग २ कार्टुनपारखी मात्र होइन, सबै पाठकका लागि कोसेली हुन सक्छ ।
किताबलाई ‘०६२–६३ को आन्दोलनपछिको नेपाल’ भनिएको छ । यसमा ०६२/६३ देखि ०७४ मा नेकपा सरकार बनेसम्मका घटनाक्रम कोरिएका उत्कृष्ट व्यंग्यचित्र छन् । पुस्तक चेसबोर्डमा राजालाई आन्दोलनको गोटीले चेक दिएको कार्टुनबाट सुरु हुन्छ । राजा ज्ञानेन्द्रको निरंकुश शासनदेखि निस्सासिएका जनता स्वतःस्फूर्त आन्दोलनमा होमिएको दृष्टान्त हो, त्यो कार्टुन ।
सशस्त्र माओवादी शान्ति सम्झौताबाट मूलधारमा आए । व्यवस्था परिवर्तन भयो तर देश र जनताको मलीन मुहार फेरिएन । राजा
हटाइयो तर अनेक ‘छोटे राजा’ हरु निस्किए, जो सत्ता र शक्तिका लागि लडिरहे । भ्रष्टाचार, दण्डहीनता, महँगी खुब फस्टाए, जसलाई मलजल गर्ने काम सत्ता र प्रतिपक्षकै नेताहरुले गरिरहे । यिनै र यस्तै विसंगतिमाथि बनाइएका अनि समय, न्युज फ्रन्ट, नागरिक तथा कान्तिपुरमा छापिएका १ सय २० चोटिला व्यंग्यचित्रको मजा लिन सकिन्छ, अविनका कार्टुन भाग २ पल्टाउँदा ।
हजारौँ शब्दले बुझाउन नसकिने कुरा एउटा कार्टुनबाट सबै तप्काका पाठकलाई सहजै जानकारी दिन सकिन्छ । अझ शब्दमा व्याख्या गर्नै नसकिने भावलाई समेत महसुस गराउन सक्छ, एउटा कार्टुनिस्टको ब्रसबाट जन्मिएको कार्टुनले । गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति मै हुँ भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै अनुहारभरि ‘प्रथम राष्ट्रपति’ लेखेर रमाएको कार्टुनले उनको आत्मरति र अति आत्मविश्वासलाई प्रस्टै झल्काइदिन्छ । शान्ति सम्झौतामा आउने तर आफैँले बोकेको हतियार बाधक भएको प्रसंगलाई गरिएको व्यंग्य चोटिलो लाग्छ । द्वन्द्वकालको एउटा भिडियोले पोल खोलिदिएपछि प्रचण्ड उदांगिएको प्रसंग आफैँमा एउटा कार्टुन हो ।
भूकम्पले देश दुखेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाएको नकारात्मक छवि कार्टुनले बाहेक शब्दले बोल्नै सक्दैनथ्यो । देश नाकाबन्दीले आक्रान्त थियो । प्रधानमन्त्री ओली भने आफ्ना हास्यव्यंग्यले नै जनतालाई भुलाउनमा निपुण । कार्टुनमा दनदनी बलिरहेको आगोबाट गुहारका पुकार आइरहेछन् । कुर्सीमा बसेका ओली हात बाँधेर ढाडस दिँदै छन्, नआत्तिनुस्, हामी छिट्टै इनार खन्दै छौँ ।
अख्तियारका विवादित आयुक्त लोकमानसिंह कार्कीलाई चोख्याउन लागिपरेका दलका नेताहरु कसरी आफैँ मैला हुन पुगे ? कार्टुन हेरेपछि नहाँसी बस्न सकिँदैन । मेडिकल माफियाविरुद्ध पटक–पटक आमरण अनशन बस्दै आएका डा गोविन्द केसीलाई हरेक पल्ट झुक्याइने गरेको तथा उनको मृत्युलाई कुरेको तीतो प्रसंगमाथि गरिएको व्यंग्यले मन अमिल्याइदिन्छ । दुई तिहाइको नेकपा सरकार बनेपछि न्याय प्रणालीमाथि मडारिएको राजनीतिको भयावह छाया दर्साउने कार्टुन झनै मार्मिक छ ।
अविनका रेखाहरु आफैँमा हस्ताक्षर हुन् । थोरै शब्द प्रयोग, लोभलाग्दो चित्र र पात्रको अब्बल क्यारिकेचर तथा मीठो रंग चयनले व्यंग्यचित्रलाई अब्बल बनाएका छन् । राजनीतिमा विसंगति हुन्छन् नै, त्यसमाथि नै व्यंग्य गरिन्छन् । भारतका कार्टुनिस्ट आरके लक्ष्मणले भनेका थिए, ‘कार्टुनहरु राजनीतिमा आएदेखि मैले राजनीतिक कार्टुन बनाउनै छाडिदिएँ ।’ सामाजिक विसंगतिमाथि बनाइएका ३० वटा पकेट केही कार्टुनले मुड फ्रेस गराइदिन्छ । तिनमा प्रयुक्त क्याप्सनले काउकुती लगाउँछ नै ।
आवरणको कार्टुन सदाबहार छ । परिस्थितिअनुसार हुन सक्छ, केही कार्टुनको प्रस्तुतीकरणमा भने समानता पाइन्छ । जस्तै, लडाकू ‘प्रचण्ड’ को छविमाथि मूलधारमा आएको ‘पुष्पकमल दाहाल’ हावी भयो । त्यस्तै, कांग्रेसका आदर्श ‘गिरिजाबाबु’ को छविलाई छोरी सुजाताको आसक्तिले कसरी ‘गिरिजाबुबा’ मा परिणत
गरिदियो ? दुई थरी चित्र उस्तै लाग्छन् । बिरामी मुलुक अस्पतालको शैरयामा अलमलिएका डाक्टररुपी दलहरुले घेरिएका दुई व्यंग्यचित्र पनि झन्डै यस्तै लाग्छन् ।
गएको बाह्र–तेह्र वर्षका राजनीतिक घटनाक्रमलाई कम शब्दचित्रमा बुझाउन सफल छ, अविनको कार्टुन संग्रह । आकर्षक साजसज्जाका कारण पनि यो संग्रहणीय छ ।

Page 51
तीन किताब

महिला मुक्तिको विमर्श

- गुरुङ सुशान्त
बिन्दा पाण्डे , नेकपा नेतृ , तस्बिर : सरोज बैजु

भर्खर–भर्खर विद्यार्थी आन्दोलनमा सरिक हुने बेला मोदनाथ प्रश्रितलिखित
नारी बन्धन र मुक्ति पढेर प्रभावित भएकी थिएँ । त्यसले मलाई अझै प्रतिबद्ध भएर महिला आन्दोलनमा लाग्न प्रेरित गरिदियो । पत्रात्मक शैलीमा लेखिएको यस किताबमा नेपाली महिलामाथि हुने विभेद, अन्याय, अत्याचारको चित्रण गर्दै त्यसबाट मुक्ति पाउन संघर्षको आह्वान गरिएको छ ।
पुस्तकमा सम्बोधित बालविधवा कुनै एक बहिनी मात्रै नभएर सम्पूर्ण शोषित र उत्पीडित महिलाको प्रतिनिधि प्रतीत हुन्छ । एक निरक्षर बालविधवालाई समाजले गर्ने अपहेलनाको चूडान्त वर्णन गरिएको यस किताबमा महिला बन्धन कुनै एक व्यक्तिको मात्रै समस्या नभएर सिंगै समाजको रोगको रुपमा चित्रित छ ।
समाजमा विभेद र अन्याय रहिरहनुमा हाम्रो राजनीतिक पद्धति जिम्मेवार रहेकाले त्यसका विरुद्ध आधा आकाश ओगट्ने महिलाले संगठित आन्दोलन गर्नुको विकल्प नरहेको उल्लेख छ, किताबमा । पितृसत्ताले सिर्जना गरेको राजनीतिक निरंकुशता र आर्थिक पराधीनताका कारण पैतृक सम्पत्तिबाट वञ्चित गरिएकाले पनि महिला पाखा परेको यथार्थलाई सरल शैलीमा बुझाइएको छ । पितृसत्ताकै कारण महिलाहरु पछाडि पारिएकाले त्यही संरचनाविरुद्ध सम्पूर्ण आन्दोलन केन्द्रित हुनुपर्ने तर्क लेखकको छ । ग्रामीण महिलाको अवस्था र सामाजिक संरचना बुझ्न आज पनि यो पुस्तकको सान्दर्भिकता उत्तिकै छ ।
आन्दोलन र सिद्धान्तले हाम्रा विचारलाई निर्देशित गर्छन् तर विश्वमा धेरै साहित्यिक रचना छन्, जसले हाम्रो हृदयलाई आन्दोलित पार्छन् । म्याक्सिम गोर्कीको उपन्यास मदरमा चित्रित क्रान्तिकथाले पाठकको मनलाई उद्वेलित पारिरहन्छ । लाग्छ– पावेलजस्तो म किन हुन सक्दिनँ ?
पीडित समुदायलाई ज्ञान दिएर साहसी बनाउने, आफैँलाई चिन्ने र दोस्रो व्यक्तिको शान्ति तथा न्यायका लागि संघर्ष गर्दै जिउने प्रबुद्ध पात्रको कल्पना गर्छन्, गोर्की । उनी श्रमिक र महिलाजस्ता समाजमा पछि पारिएका समुदायको उत्थानका लागि साहित्यमार्फत वैचारिकी दिन्छन् । निरक्षर र पीडित आमालाई रुसको भुइँतहको सच्चा प्रतिनिधिको रुपमा प्रस्तुत गर्छन् ।
पावेलले तत्कालीन रुसी पुँजीवादप्रति जुन असहमति र मोहभंग दर्साए, त्यसले क्रान्तिमा सामेल हुन धेरैलाई उत्प्रेरित गर्‍यो । एउटा क्रान्तिकारी अनेक हन्डरका बाबजुद आफ्नो क्रान्तिपथबाट विचलित हुनु हुँदैन भन्ने प्रेरणा यो रचनाले मुखर रुपमा दिन्छ । उपन्यासमा देखिएको तत्कालीन रुसी समाजको सपना, क्रान्तिको आवेग र पात्रहरुको त्यागले नै हामीलाई आजसम्म आन्दोलनमा टिकिरहन उत्प्रेरित गरेको हुनुपर्छ । व्यक्तिगत स्वार्थभन्दा उत्पीडित वर्गका लागि जीवन उत्सर्ग गर्ने आदर्श चरित्रहरुकै कारण समाजमा क्रान्तिले मूर्त रुप लिने हो । नेपाली क्रान्तिमा पनि योद्धाहरुको भूमिगत जीवनमा धेरै आमाहरुको साथ–सहयोग थियो, रुसका आमाहरुकै जस्तो । तर कतिपय क्रान्तिकारीले सपना भुलेकामा ती आमाहरुको गुनासो जिउँदो छ । विगतका गौरवशाली इतिहास र सपनामा योगदान गर्ने आमाहरुको साथलाई आजका नेतृत्वले बिर्सनु दुःखद पाटो हो ।
फ्रान्सेली अस्तित्ववादी चिन्तक सिमोन द बुभाएरको द सेकेन्ड सेक्समा महिलाको अवस्था र अस्तित्वमाथि गरिएको शोधपरक विश्लेषण नारी आन्दोलनका लागि गहकिलो घोषणापत्रजस्तो लाग्छ । सिमोनको प्रश्न छ, महिला के हो ? उनको निचोड छ– समाजमा महिलाको आजको अवस्था पुरुष सोचअनुरुपको परिभाषासिर्जित व्यवहारको उपज हो ।
पितृसत्तात्मक समाजले महिलालाई सधैँ ‘अन्य’ को रुपमा व्यवहार गरिरह्यो । सत्ताले निर्माण गरेको भाष्यमा दोस्रो दर्जाको महलमा खुम्चिन विवश महिलाका भावना, अधिकार र विचारको बेवास्ता गरिरह्यो र विभेदजन्य व्यवहारलाई नै निरन्तरता दियो । जैविक कारण देखाएर मातहतको प्राणी बनाएर चरम शोषण गरिएकाले आज पनि महिलाको अवस्था जटिल छ ।
सिमोनले समग्रमा विश्व महिला आन्दोलनलाई सम्पुट दिने गरी गहन वैचारिकी दिएका छन् । उनी प्रजनन अधिकारका सन्दर्भमा महिला अधीनताको वर्णन गर्छन् । महिला र पुरुषलाई तुलना गर्दै निष्कर्ष निकाल्छन्– मूल्यहरु शरीर विज्ञानमा आधारित हुँदैनन् । यिनलाई आर्थिक र सामाजिक सन्दर्भमा प्रकाश पारिनुपर्छ । महिलामा रहेको पराधीनता शाश्वत नभएर परिस्थितिजन्य अवस्था हो । महिलाको स्वतन्त्रतालाई अस्तित्वसँग जोडेर हेरिनुपर्छ र यसका लागि आर्थिक पक्ष नै प्रमुख कारक हुन्छ । सिमोनको वैचारिकीलाई नेपाली महिला आन्दोलनसँग जोडेर हेर्दा समाजका सम्पूर्ण निकायमा तिनको आर्थिक स्वामित्वलाई नै हेर्नुपर्ने हुन्छ । कतिपयले नारी आन्दोलनलाई पुरुषविरोधी धाराका रुपमा पनि बुझिदिएकाले समस्या भएको हो । यी आन्दोलन कसैका विरुद्ध नभई समानताको खातिर भएका हुन् । योगमायाजस्ता विद्रोही पात्रहरुको शृंखलामा हुर्किएको नेपाली महिला आन्दोलन आफ्नै माटोमा उठे पनि द सेकेन्ड सेक्सजस्तो वैचारिक पठनको भूमिका छ नै ।  

Page 52
खेलकुद

ठप्प !

कोरोना संक्रमणको सन्त्रासले विश्वकप छनोटलगायत घरेलु खेल गतिवधिमा रोक
- पवन आचार्य

विश्वभर कोरोना संक्रमणको सन्त्रास फैलिएर जनजीवन नै अस्तव्यस्त भइरहेका बेला ५ चैतमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अधिकारीले प्रशिक्षण जारी राख्न भनेपछि तरंग पैदा भएको छ । महाव्याधिका रूपमा रहेको कोभिड–१९ ले मानिसको आवतजावत र भेला हुने क्रममा समेत बन्देज र नियन्त्रण जारी रहेका बेला आईओसीको भनाइले सम्पूर्ण खेल जगत् नै तरंगित हुनु स्वाभाविक हो ।
विश्वभरका २ सय खेलाडी, आईओसीका अध्यक्ष थोमस बाक र पदाधिकारीहरूबीच भएको भिडियो कन्फ्रेन्समा आगामी जुलाईमा टोकियोमा ओलम्पिक हुने र त्यसका लागि तयारी यथावत राख्न भनिएको थियो । तर, सहभागीमध्ये धेरैले जिमखाना, पौडी पोखरी र प्रशिक्षण केन्द्र बन्द गरिएको अहिलेको अवस्थामा जुलाई अन्त्य वा अगस्त सुरुमै ओलम्पिक सारिए पनि न्यायोचित नहुने तर्क गरेका थिए ।
ओलम्पिकजस्तो महत्त्वपूर्ण प्रतियोगिताका लागि कम्तीमा पनि ६ महिनाअघिबाटै तयारी गरिनुपर्ने भन्दै अहिले स्थगित प्रशिक्षणको समय र ओलम्पिकको तालिका परिवर्तन गर्नुको विकल्प नभएको उनीहरूको सुझाव थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त ओलम्पिक एक वर्षपछि सार्न सुझाव दिइसकेका छन् । स्थिति थप बिग्रिए ओलम्पिक सर्ने निश्चित छ । त्यसो भए १ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घटना हुनेछ । यसअघि दोस्रो विश्वयुद्धका बेला मात्रै ओलम्पिक स्थगित भएको थियो ।
नेपाली पक्षको धारणा पनि त्यस्तै छ । खेलाडीको स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकता र दोस्रोमा प्रशिक्षणको समयावधि भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ बताउँछन् । दक्षिण एसियाली खेलकुदमा नेपालको प्रदर्शनलाई आधार मानेर एनओसीले यस पटक ओलम्पिकमा सीधै छनोट हुने व्यवस्था वाइल्ड कार्डका लागि १२ वटा कोटाका निम्ति आवेदन दिएको थियो । तर छनोट चरण सकिएपछि मात्रै वाइल्ड कार्डको संख्या निर्धारण हुने भएकाले नेपाली खेलाडीको सहभागिता पनि अन्योलमा परेको छ । नेपालले पौडीमा दुई र एथ्लेटिक्समा एउटा वाइल्ड कार्ड पाउने निश्चित छ ।


छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता सुनिश्चित गर्न नेपालले तेक्वान्दो, बक्सिङ, आर्चरी, एथ्लेटिक्स, पौडी, भारोत्तोलन कराते, जुडो, सुटिङमा सहभागिता जनाउँदै थियो । हाललाई ती सबै खेलका ओलम्पिक छनोटसमेत स्थगित छन् । अध्यक्ष श्रेष्ठ भन्छन्, “यस्तै अवस्थामा त ओलम्पिक गर्न सकिन्न भन्ने नै हाम्रो राय हो । तर आईओसीको बैठक बसेर यसबारे निर्णय लिनुपर्ने हुन्छ । सदस्य राष्ट्रका हैसियतले हामीसँग सल्लाह माग्दा ओलम्पिक हुन सक्ने वातावरण नदेखिएको नै राय दिन्छौँ ।”
ओलम्पिक मात्रै होइन, प्रत्येक चार वर्षमा आयोजना हुने दुई ठूला फुटबल प्रतियोगिता युरोकप र कोपा अमेरिका पनि एक वर्षपछि धकेलिएका छन् । कोभिड–१९ कै कारण २०२० मा आयोजना हुने भनिएको विश्वकपपछिकै सबैभन्दा ठूलो प्रतियोगिता युरोपेली च्याम्पियनसिपको मिति परिवर्तन गरिएको छ । युरोपेली फुटबल महासंघले ४ चैतमा मात्रै प्रतियोगिताको मिति सार्ने निर्णय गरेको हो । त्यसको केही घन्टामै दक्षिण अमेरिकी महादेशस्तरीय स्पर्धा कोपा अमेरिकाको आयोजकले पनि प्रतियोगिता सन् २०२१ मा गर्ने निर्णय गर्‍यो । युरो २०२० सरेपछि युरोपेली मुलुकहरूलाई हाल स्थगित भएको घरेलु फुटबल लिग सक्न केही सहज हुने अपेक्षा गरिएको छ । युईएफका अध्यक्ष अलेक्जेन्डर केफ्रिनले अहिले सारा विश्वले कोरोना संक्रमणविरुद्ध ऐक्यबद्धता प्रदर्शन गरेकाले फुटबलले पनि आफ्नो दायित्व र जिम्मेवारीबोध गर्दै अप्रिय निर्णय गर्नु परेको बताएका छन् ।
यस्तै, टेनिसको महत्त्वपूर्ण प्रतियोगिता फ्रेन्च ओपन पनि सरेको छ । पेरिसस्थित रोल्यान्ड गारोसमा हुने स्पर्धा वर्षको दोस्रो ठूलो प्रतियोगिता हो । अस्ट्रेलियन ओपन सकिएपछि हुने अर्को ग्रान्डस्लाम प्रतियोगिता मे २४ देखि हुने तय भएकामा अब सेप्टेम्बर २० बाट सञ्चालन गर्ने गरी सारिएको हो । हाललाई नयाँ तोकिएको मितिअनुसार सञ्चालन भयो भने अब फ्रेन्च ओपन युएस ओपन सकिएको एक सातामै सुरु हुनेछ । न्युयोर्कमा हुने युएस ओपन ३१ अगस्तबाट सुरु हुँदै छ । अमेरिकी टेनिस संघले फ्रेन्च ओपनको मिति सरिसकेकाले आफूहरूले पनि सोच्ने जनाएको छ । यद्यपि हाललाई तोकिएकै मितिमा प्रतियोगिता गर्न तयार रहेको संघले बताएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ४ चैतमा विश्वभर कोभिड– १९ का कारण परेको असरलाई ध्यानमा राखेर सबै खेल गतिविधि रोक्ने निर्णय गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवाल अध्यक्षताको बैठकले तत्काल एक साताका लागि खेलकुदका सबै गतिविधि रोक्ने निर्णय गरेको हो ।
विश्वका ठूला शक्तिशाली राष्ट्रले कोरोनाका विषयमा सचेतना अपनाइरहेको अवस्थालाई ध्यानमा राखेर जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएकाले यस्तो निर्णय लिएको राखेपले जनाएको छ । निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘खेलकुदसँग सम्बन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलनलगायत भेला हुने सम्पूर्ण गतिविधि तत्काललाई एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।’ साथै, राखेपले खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरू, खेलसँग सम्बन्धित व्यक्ति र आम जनमानसलाई पनि सचेतना अपनाउन आह्वान गरेको छ ।
यसअघि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा अध्यक्षताको २२ फागुनमा बसेको आपतकालीन बैठकले विश्वमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगिता र त्यससँग सम्बन्धित सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्न भनेको थियो । राखेपको निर्णयलगत्तै अखिल नेपाल फुटबल संघ एन्फाले बी डिभिजन लिगसहितका सबै फुटबल प्रतियोगिता स्थगित गरिसकेको छ ।
कोरोना कहर नेपाली टोलीको विश्वकप छनोटमा पनि परेको छ । राष्ट्रिय फुटबल टोलीले पहिलो पटक घरेलु मैदानमा अस्ट्रेलियासँग खेल्ने अवसर जुर्दै थियो । १३ चैतमा चाइनिज ताइपेईसँग र १८ चैतमा अस्ट्रेलियासँग घरेलु मैदानमा खेल्ने तय थियो । त्यस्तै, आगामी २२ जेठमा जोर्डनसँग खेल्ने तालिका थियो । तर ती सबै खेल स्थगित भएका छन् ।
विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को संयुक्त बैठकले कोरोनाको प्रभावबाट बच्न एसियामा हुने तय भएका विश्वकप छनोट २०२२ र एसियन कप छनोट २०२३ का सबै खेल स्थगित गर्ने निर्णय गरेपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण पनि प्रभावित भएको छ । एन्फाले ३ चैतबाट सुरु हुने भनिएको महिला राष्ट्रिय लिग पनि स्थगित गरिसकेको छ ।
एन्फाका लिग निर्देशक सञ्जीव मिश्र कोरोनाको प्रभाव विश्वकप फुटबलसम्म पर्न सक्ने आकलन गर्छन् । त्यस अलावा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल तालिका मिलाउनसमेत अप्ठेरो पर्ने उनी सुनाउँछन् । भन्छन्, “पछिल्लो समय फुटबल गतिविधिसँगै आकर्षण पनि बढिरहेको थियो । कोरोनाका कारण २–३ महिना फुटबल ठप्प हुँदा यसको दीर्घकालीन असर पर्न सक्छ । प्रशिक्षण गर्न र प्रतियोगिता खेल्न नपाउँदा खेलाडीमा मनोवैज्ञानिक असर पर्न सक्छ ।” राष्ट्रिय लिग, विश्वकप छनोटलगायत अन्य खेलको तालिका मिलाउन समय तलमाथि गरेर मात्रै पनि नपुग्ने उनको बुझाइ छ ।
कोरोनाकै कारण १ चैतबाट हुने भनिएको फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) स्थगित भइसकेको छ । विश्वका चर्चित खेलाडीहरू क्रिस गेयल, ड्वायन स्मीथ, उपुल थरंगा, हसिम अम्लालगायतले कीर्तिपुरस्थित त्रिवि मैदानमा क्रिकेट खेलेको हेर्ने नेपाली दर्शकको चाहनामा कोरोनाको धक्का लागेको छ ।

Page 53
Page 54
कोलाज

‘जुनियर ओलम्पिकमा पदक दिलाउँछु’

- पवन आचार्य
प्रिन्स दाहाल

विश्व ब्याडमिन्टनको जुनियरतर्फ नेपालका प्रिन्स दाहाल, १६, ले आफूलाई उत्कृष्ट सातौँ वरीयतामा पुर्‍याएका छन् । २८ फागुनमा विश्व ब्याडमिन्टन महासंघको सातौँ वरीयता पाउनुअघि उनी १४ औँ स्थानमा थिए । दाहाल पछिल्लो समय प्रेसिडेन्ट्स कप इन्टरनेसनल ब्याडमिन्टन सिरिजको १९ वर्षमुनिको स्पर्धाको मेन्स सिंगल्स र डबल्स विधाको फाइनलमा पुगेका थिए । उनी ९ वर्षको उमेरमै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडीसमेत हुन् । 

 

विश्व वरीयतामा यो सफलताको अर्थ के हो ?
ब्याडमिन्टनको जुनियर वरीयतामा उत्कृष्ट १० भित्र पर्नु भनेको पनि ठूलै कुरा हो । यसले नेपालमा ब्याडमिन्टनका प्रतिभा प्रशस्तै छन् भन्ने संकेत गर्छ, सायद ।

सिनियरतर्फको वरीयतामा चाहिँ किन नेपालको सुधार हुन नसकेको ?
उमेर समूहमा सबै खेलाडीको शारीरिक बनोट र क्षमता उस्तै हुन्छ । जब सिनियर लेबलमा पुगिन्छ, विदेशी खेलाडीले उत्कृष्ट प्रशिक्षण र वातावरण पाउँछन् । तर नेपालमा त्यस्तो अवसर छैन । खेलाडी आफैँले सबै गर्नुपर्छ ।

उपलब्धिसागै कत्तिको दबाब महसुस हुन्छ ?
दबाब त छ । म पहिले ३२ औँमा थिएँ । त्यसपछि १४ औँ । अहिले सातौँमा छु । निरन्तर खेल खेल्न सके वरीयतामा पनि सुधार हुने हो । खेल्ने वातावरण भए दबाबमुक्त भएर प्रदर्शन गर्न सकिन्थ्यो ।

अहिले कोभिड– १९ ले गर्दा सबै प्रतियोगिता स्थगित भएका छन् । तपाईंलाई कत्तिको असर गरेको छ ?
केही अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बोलावट आएको थियो । सबै स्थगित भए । जिम पनि बन्द छ । घरमै हल्का ट्रेनिङ गरेर बसेको छु ।

ब्याडमिन्टनमा अबको योजना ?
तत्कालको योजना भनेको त जुनियर ओलम्पिकमा नेपाललाई पदक दिलाउने हो । जुनियर ओलम्पिकमा अहिलेसम्म नेपालले वाइल्ड कार्डमार्फत मात्र सहभागिता जनाएको छ । वरीयताको एक सयभित्र पर्नेहरु स्वतः छनोट हुन्छन् । मलाई त्यो अवसर छ । त्यहाँ पदक जितेपछि सिनियर ओलम्पिकमा ध्यान केन्द्रित गर्छु ।

तपाईं त ९ वर्षकै उमेरमा राष्ट्रिय प्रतियाोगिता खेल्ने खेलाडी । त्यो कसरी सम्भव भयो ?
म दार्चुलाको खलंगामा जन्मिएको हुँ । बुबा नारायण दाहाल पनि आफ्नो समयको ब्याडमिन्टन खेलाडी । उहाँकै प्रेरणाले गर्दा सानैबाट ब्याडमिन्टन सिकेँ । ९ वर्षको हुँदा कृष्णमोहन स्मृति ब्याडमिन्टनमा भाग लिन काठमाडौँ आएँ । तर पहिलो खेलमै पराजित भएर फर्किएको थिएँ ।

कक्षा ९ को परीक्षा दिएर बस्नुभएको छ । पढाइ गाह्रो कि ब्याडमिन्टन ?
परीक्षामा बस्दा ब्याडमिन्टन खेल्न सजिलोजस्तो लाग्छ । कोर्टमा विपक्षीसँग उत्रिँदा पढ्न बरु सजिलो लाग्छ । खासमा दुवै उत्तिकै गाह्रो रहेछ ।

Page 55
नगरकोटी क्याफे

नृत्यांगना

- नेपाल संवाददाता

मकसैलाई पर्खिरहेको थिएँ । कसलाई पर्खिबसेको थिएँ, यकिन थिएन ।
सहरका क्याफेहरुमा म प्रायः एक्लो भेटिइन्छु । कुनै दिन कफी मग–मग बसाउने क्याफेका कर्नर टेबलहरुमा तपाईंले मलाई किताब पढिरहेको, कविता लेखिरहेको, सेलफोनमा कलब्रेक या म्यारिज खेलिरहेको अथवा शून्यमा टोलाइरहेको अवस्थामा पक्कै पनि देख्नुभएको होला ।
त्यस्तो बखत तपाईंलाई मसित दुई चार कुरा गर्न मन लाग्दो हो । तर तपाईंको मनले भन्दो हो : नगरकोटीले कसैलाई पर्खिरा’जस्तो छ । पर्खिरहोस् । फिक्सन डिजाइनरलाई बेकारमा किन डिस्टर्ब गर्ने ?
त्यो दिन पनि लगभग त्यस्तै थियो । म कसैको प्रतीक्षामा थिएँ । मेरो बडी ल्याङ्वेज हेरेर कम्तीमा तपाईंलाई त्यस्तै लाग्न सक्थ्यो । तर मलाई भेट्न को आउँदै थियो  ? उसको नाम के थियो ? ऊ को थिई ?
– नृत्यांगना । (उसले भनी ।)
– कति खेर आउनुभयो ? (मैले सोधेँ ।)
– म आएको पाँच मिनेट भइसक्यो ।
– के म तपाईंलाई नै पर्खिरहेको थिएँ ?
– हो, तपाईं मलाई नै पर्खिरहनुभा’थ्यो ।
नृत्यांगना कालीकाली हिस्सी परेकी अधबैँसे महिला थिई । दीपक वज्राचार्यको गीतमा हिँडडुल गर्ने लिरिकल गर्लजस्ती । ऊ केही हतारमा थिई क्यारे ! उति सारो कुरा गरिन । आफ्नो परिचय पनि दिइन । एउटा खाम दिँदै उसले यति मात्र भनी, “तपाईंसित कुरा गर्ने विषयहरु मसित त्यति धेरै छैनन् । जति छन्, तिनलाई मैले यो चिठीमा लेखेकी छु । प्लिज, पढिदिनु होला । अहिले जान्छु । तपाईंको शून्यता तपाईंलाई मुबारक !”
त्यसपछि ऊ फटाफट क्याफेबाट बाहिरिई । मैले कुनै प्रतिक्रिया दिनसमेत भ्याइनँ । कस्ती रहस्यमय आइमाई ! मैले खाम खोलेँ, चिठी पढ्न थालेँ ।

डियर नगरकोटी ! तिमीले कुनै अन्तर्वार्तामा जर्मन सिने सर्जक विम वेन्डर्सको फिल्म पिनाबारे केही चर्चा गरेका थियौ । तिमीमार्फत नै मैले पहिलोपल्ट पिना बाउसबारे सुनेको थिएँ, जो मझैँ नृत्यांगना/कोरियोग्राफर थिई ।
अन्तर्वार्तामा तिमीले भनेका थियौ, “नौका विहार गर्दै हेर्नुपर्ने फिल्म हो, पिना । नेपालमा ताल–तालका तालहरु छन्– राराताल, फेवाताल, सेफोक्सुन्डो ताल । नौका लिई कुनै तालमा छिर्नुस्, ल्यापटप खोल्नुस् र पिना हेर्नुस् ।”
मैले तिमीले भनेबमोजिम गरेँ । एक दिन डुंगा लिई तालमा छिरेँ । पिना हेरेँ । जिन्दगी एक लौकिक उत्सव हो, जसलाई परालौकिक नृत्यले सिंगार्दै बनाउनुपर्छ भन्ने बुझेँ ।
अचेल मलाई लाग्छ, मेरो जीवन दुई भागमा बाँडिएको छ । पिना हेर्नुअघि र पिना हेरेपश्चात् । पिना हेर्नुअघि म फगत एक अल्लारे आइमाई थिएँ, पिना हेरेपश्चात् स्वप्निल नारी भएँ । सोच्ने गर्छु, पिनाबिना मेरो जीवन कति खल्लो/निरस हुँदो हो ।
पिना हेर्दा लेखक–उपन्यासकारको सिर्जनामा नवीन सोच जुर्मुराउँदो हो । कविको अक्षर नृत्यमग्न हुँदो हो । चित्रकारको क्यानभासमा मृत्यु मुस्कुराउँदो हो । र, गायक–संगीतज्ञको लयमा ईश्वर गुनगुनाउँदो हो ।
डियर नगरकोटी ! तपाईंलाई आत्मीयतापूर्वक तिमी भनी सम्बोधन गरेँ । यति नै लेखेँ । नेपाल म्यागजिनको पाक्षिक स्तम्भ ‘नगरकोटी क्याफे’ मा तिमीले चर्चा गर्ने फिल्महरु हेरिरहेकी छु । पिनाबारे पनि तिमीले केही लेखिदिए कति सुन्दर हुन्थ्यो ! नौका विहार गर्दै मैले पिना हेरेको कथा लेखे कति गज्जब हुन्थ्यो ! मलाई पनि तिमीले आफ्नो पात्र बनाइदिए कति जाती हुन्थ्यो ! यहीँ रोकिएँ, ल !

निकै दिनहरु बितेर गए । कालीकाली हिस्सी परेकी नृत्यांगनालाई मैले लगभग बिर्सिसकेको थिएँ । तर आज एउटा किताबभित्र उसको पत्र भेटिइँदा मैले उसलाई सम्झेँ । पत्र पुनः पढेँ । कस्तो–कस्तो लाग्यो । पत्रको पुछारमा फोन नम्बर रहेछ । फोन गरी हेरेँ । कसैले उठाएन । पुनः प्रयास गर्दा कसैले उठायो । नृत्यांगनाका पतिश्री रहेछन् । कुनै भूमिका नबाँधी सीधै सोधेँ, “तपाईंकी पत्नीले नौका बिहार गर्दै पिना फिल्म हेरेको ताल चैँ कुन रहेछ ?”
उनले भने :
– बेगनास ताल ।
– उहाँ अचेल पनि त्यहाँ जानुहुन्छ ?
– जानुहुन्न । उहाँ बेगनासबाट अझै फर्कनुभा’ छैन ।
उनी केही बेर मौन रहे । त्यसपछि शोकाकुल आवाजमा उनले आफ्नी पत्नीबारे जे भने, त्यो सुनेर म निःशब्द भएँ, “उहाँ बेगनास तालमै गायब हुनुभयो । यतिका दिन बितिसके तर पनि आजसम्म उहाँको लास फेला परेको छैन । तपाईं को पर्नुभयो कुन्नि ! लौ न, मेरी नृत्यांगना पत्नीको लास खोजिदिनु पर्‍यो ।” 

Page 56
नेपाल मण्डल

दिवेश टप १८ मा

- नेपाल संवाददाता

अमेरिकन आइडलमा नेपाली गायक दिवेश पोखरेल उर्फ अर्थर गन प्रतिस्पर्धा गरिरहेका छन् । अडिसन राउन्डमै जजहरुको मन जितेका अर्थरलाई केटी पेरीले ‘द बेस्ट’ अर्थात् उत्कृष्ट संज्ञा दिएकी थिइन् ।
ओटिसको हार्ड टु ह्यान्डल गाएर दिवेश उत्कृष्ट १८ मा पुगिसकेका छन् । जब उनले गीतको मुखडा गाए, निर्णायकहरु अझ गाऊ भन्दै सिटबाट उठे । त्यसपछि अर्थरले पूरै गीत गाए । उनको गायन शैलीलाई गायक एवं जज लायनेल रिचीले बब मार्लेको झझल्को दिएको भन्दै प्रशंसा गरे ।
नेपालबाट ५ वर्षअघि अमेरिका गएका दिवेशको स्टेज नाम अर्थर गन हो, जुन उनले सन् २०१८ मा ग्रहण एल्बम निकाल्दा राखेका थिए । विचिटाको कानसस बस्दै आएका अर्थर गनले अमेरिकन आइडलको व्यापारिक ट्रेलरमा पनि गाएका छन् । एल्टन जोनको टाइनी डान्सर बोलको गीतमा आइडलका प्रतिस्पर्धीहरु र शोका उद्घोषक रायन पनि देखिन्छन् । एकेडेमी अवार्डमा देखाइएको उक्त ट्रेलर निकै चर्चित भएको थियो । अर्थरको युट्युब च्यानल पनि छ, सोही नामको ।
अमेरिकन आइडलमा देखेर खुसी भएका नेपालीको माया र सहयोगप्रति अर्थरले कृतज्ञता व्यक्त गरेका छन् ।

नेपाल मण्डल

काभामा खाउ

- नेपाल संवाददाता

सहरमा चर्चा चुलिएको छ, मेरियट होटलको । अन्तर्राष्ट्रिय कम्पनी फेयरफिल्डको मेरियट नेपालमा ३ वटा छन् । नक्सालमा मेरियट होटल, ठमेलमा मेरियट र छायादेवी कम्प्लेक्समा अलफ्ट छ । ५ तारे होटलको स्वाद दिने ठमेलको मेरियटमा अन्तर्राष्ट्रिय रेस्टुराँ छ । २४ सै घन्टा सेवा–सुविधा दिने रेस्टुराँ काभामा अन्तर्राष्ट्रिय स्वादका खाना पाइन्छन् । ब्रेकफास्टमा बफेदेखि लञ्च, डिनर र ककटेल पनि पाइन्छन् ।

Page 57
नेपाल मण्डल

दोष कसको ?

- नेपाल संवाददाता

दोषी पत्ता लगाउन जस्तो गाह्रो काम केही होइन । मीटू मुभमेन्ट चलिरहेको छ । नान्की दत्ताको प्रेमी भिजे (विजय) माथि विश्वविद्यालयमा भर्खर पढ्न आएकी तनु कुमार बलात्कारको आरोप लगाउँछे । नान्की गीत लेख्छे भने भिजे गाउँछ । सबैका अगाडि तनु भिजेसँग पटक पटक जिस्किरहन्छे । कलेजमा भएको कन्सर्टको रात पनि तनु भिजेसँग नान्कीकै अगाडि जिस्किरहन्छे । त्यसको केही दिनपछि छात्रवृत्ति पाएकी विद्यार्थी तनुले कलेज छाड्दा सबै दंग पर्छन् । सायद फेल भएर कलेज छाडी भन्ने सबैको अनुमानविपरीत तनुले सामाजिक सञ्जालमा भिजेलाई बलात्कारको आरोप लगाउँछे । बाल्यकालमा भएको यौन शोषणबाट सिर्जिएको डिप्रेसनको उपचार गराइरहेकी नान्कीले कसरी परिस्थितिसँग संघर्ष गर्छे ? त्यसलाई उतारिएको छ, चलचित्र गिल्टीमा ।
कविर सिंहमा प्रेमीको दुर्व्यवहार सहेको भन्दै गाली खाएकी कियरा आडवाणीले गिल्टीमा नान्कीको भूमिकामा सबैलाई स्तब्ध पारेकी छन् । एकै पटक कमजोर र साहसी महिलाको अभिनय गरेर उनले दर्शकको मन जितेकी छन् । करण जोहरले नेटफ्लिक्सका लागि निर्माण गरेको चलचित्र रुचि नारानले निर्देशन गरेकी हुन् । मीटू मुभमेन्टलाई क्यास गरेको सिनेमा नारान, कनिका धिल्लन र
अतिका कोहनले संयुक्त रुपमा लेखेका हुन् ।

नेपाल मण्डल

चर्चा नेपाल आइडलको

- नेपाल संवाददाता

प्रतिभा खोज्ने अनेक मञ्च छन् । नेपाल आइडल, द भ्वाइस, नेपाल स्टार आदि । तर नेपाल आइडलको स्थान बेग्लै छ । अमेरिकन आइडल, इन्डियन आइडल हुँदै नेपाल प्रवेश गरेको नेपाल आइडल आइडल फ्रेन्चाइजकै एउटा भाग हो । बेलायती मनोरञ्जनकर्ता साइमन फुलरले सिर्जना गरेको आइडल नेपालमा सन् २०१७ मा सुरु भयो ।
नेपाल आइडल रियालिटी शो मात्र होइन । यहाँ प्रतिस्पर्धीले गाएका गीतले थुप्रै पुराना गायक/गायिकालाई नयाँ पुस्तामाझ परिचित गराएको छ । जस्तो, सिजन २ मा अमित बरालले पन्छी.. गीत गाए । उनको गीत सुनेर जज इन्दिरा जोशी रोइन् भने दर्शक पनि भावुक भए । सो गीत यति भाइरल भयो कि अन्ततः गीतको ओरिजिनल सिंगर पुष्पन प्रधानको गीत ट्रेन्डिङमै पर्‍यो । गीत राम्रो हुँदाहुँदै पनि चर्चामा नआएका पुष्पन रातारात स्टार बने ।
एपीवान टेलिभिजनमा प्रसारण भइरहेको आइडलको तेस्रो सिजनमा मेगा श्रेष्ठ बाहिरिएसँगै अहिले शीर्ष ४ बीच प्रतिस्पर्धा भइरहेको छ । भर्सटायल सिंगर सज्जा चौलागाई शो कि एक मात्र महिला प्रतिस्पर्धी हुन् । यस्तै, शोमा आधुनिक र रक गाएर केविन तामाङले दर्शकको मन जितिरहेका छन् भने नेसन पुन मगर लोकपपमा जमिरहेका छन् । शास्त्रीय संगीतका गीत गाएर निर्णायक मण्डली र दर्शकको मन जित्न सफल प्रवीण बडुवाल सबैको प्रिय बनिरहेका छन् । कार्यक्रम सुरु भएदेखि नै निर्णायक रहेका न्ह्यू वज्राचार्य, इन्दिरा जोशी र संगीतकार कालीप्रसाद बाँस्कोटाले शोबाट बाहिरिएकामध्ये १० मध्ये वाइल्ड कार्डबाट १ जना फर्काउने निर्णय यसै साता लिएका छन् ।

Page 58
जीवनशैली

स्थानीय क्याबिनेट !

- योगेश ढकाल
युमा संग्रहालय, वसन्तपुर बजार

फागुन दोस्रो साता भोजपुर बजारमा भेटिए, पौवा दुङ्मा गाउँपालिका अध्यक्ष किरण राई । मध्यपहाडी राजमार्गको साताव्यापी यात्रामा राईसँग पालिका कार्यालयमै गफिने चाँजोपाँजो मिलाइएको थियो, काठमाडौँबाट हिँड्नुअघि । कामविशेषले राई ट्याम्के मैयुङ गाउँपालिका जानुपर्ने भएछ, फागुन १३ मा । त्यही कारण भोजपुर बजारमै गफियो केही घन्टा ।
राईले स्थानीय सरकारको कामशैलीको बेलीविस्तार लगाइरहँदा राम्रो पनि भइरहेजस्तो लाग्यो । राईले एउटा गम्भीर प्रश्न उठाए– संविधान संशोधनसँग जोडेर । छक्क परेँ, स्थानीय तहका लागि संविधान संशोधन ? संविधानले त पालिकालाई सरकार नै मानेको छ । बजेट बनाएकै छ । कार्यान्वयन र अनुगमन गर्छ । नागरिकको घरदैलोको समस्या सम्बोधन गर्छ ।
राईको प्रस्ताव थियो– संविधान संशोधन गरेर पालिका प्रमुखलाई क्याबिनेट बनाउने अधिकार दिनुपर्‍यो । संघीय प्रधानमन्त्रीले आफ्नो अनुकूलको मन्त्रिपरिषद् बनाउँछन् । मुख्यमन्त्रीले पनि त्यसै गर्छन् । अनि आफ्ना योजना, रणनीति, कार्यक्रम कार्यान्वयन गर्न पालिकाका प्रमुखलाई चाहिँ अनुकूलको क्याबिनेट बनाउन किन नपाउने ?
सर्वसम्मतिको कार्यकारिणी समितिका कारण पलपल नागरिकसँग जोडिने स्थानीय तहका प्रमुखले आफ्नो योजना नै कार्यान्वयन गर्न पाएनन् । राईको तर्क पनि ठीकै लाग्छ, हरेक स्थानीय तहका प्रमुख र उपप्रमुखको झगडा सुन्दा । अधिकांश स्थानीय तहमा फरक–फरक दलका प्रमुख र उपप्रमुख छन् । कतै त प्रमुखबाहेक सबै अर्को पार्टीका छन् । अनि बजेट बनाउँदा बैठकपुस्तिका च्याताच्यात भएका छन् । बजेट पारित गर्नैर् समस्या ।
राईको हालत पनि त्यस्तै रहेछ । उनको टिम पनि अल्पमतमा रहेकाले बजेट बनाउनै समस्या । त्यही भएर राईलाई फुरेको रहेछ, पालिका प्रमुखको नेतृत्वमा अनुकूलको क्याबिनेट बनाउन संविधान संशोधन गर्ने । अब संघीयताविज्ञले बहस गर्लान् कि !

लिम्बू संग्रहालय
लालीगुराँस नगरपालिका प्रमुख अर्जुनबाबु माबुहाङ इतिहासका जानकार मानिन्छन् । त्यसमाथि लिम्बू संस्कृति र इतिहास माबुहाङको चासो हुने नै भयो । त्यसैले माबुहाङले वसन्तपुर बजारमा लिम्बू संग्रहालय बनाएका छन्– युमा संग्रहालय । संग्रहालयमा लिम्बूको पोसाक, बाजागाजा, घरेलु सामग्री, मुद्रा, विभिन्न औजार, घर, विवाह प्रक्रियामा जोडिने सामग्री र स्थल, लिम्बूहरुको उत्पत्तिसँग जोडिने कथा छन् ।
वसन्तपुरको चोलुङ पार्कको युमा संग्रहालयमा सबै व्यवस्थित गर्ने प्रयास छ । ४ महिनाअघि मात्रै लिम्बू जातिको पहिलो संग्रहालय उद्घाटन गर्न पुगेका थिए– नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला ।
मेयर माबुहाङको प्रयास प्रशंसनीय भए पनि संग्रहालयबारे खासै जानकारी भने पाइँदैन । चोलुङ पार्कमा न सूचनापाटी, न त पथप्रर्दशक छन् । न पार्कमा बनाएका विभिन्न संरचनाबारे स्थानीयलाई जानकारी छ । केही सोध्यो भने स्थानीय भन्छन्– यो त मेयरसाहेबलाई थाहा छ । सबै कुरा न मेयरलाई सोध्न सकिन्छ, न त सम्भव हुन्छ । पार्कमा कम्तीमा जानकारी–पाटी बनाइदिएको भए सहजै सूचना मिल्थ्यो कि मेयरसाहेब !

नेपाली विकासे मोडल
झन्डै २० वर्षअघि त्रिविका प्राध्यापक बालकुष्ण माबुहाङ पुगेका थिए, लेगुवाघाट–पाख्रिबास–हिले सडक खण्डमा । त्यतिबेला भर्खर ट्र्याक खुलेको थियो । भोजपुर सदरमुकाम जोड्ने सडक भएकाले रफ्तारमै काम भइरहेको थियो । लेगुवाघाटस्थित अरुण नदीमा पुल बनाउने सुरसार भने थिएन ।
ट्र्याक खुलेपछिको ‘बालभरिया’ बारे अध्ययन गर्न पुगेका माबुहाङ २० वर्षको अन्तरालमा फागुन दोस्रो साता त्यही सडकमा दौडिँदै थिए । २६ किमिको लेगुवाघाट–पाख्रिबास सडक छिचोल्न ४ घन्टा लाग्छ ।
भोजपुर–धनकुटा जोड्ने सडक खण्डको हालत देख्दा छक्क मात्र होइन, महाछक्क पर्नुपर्ने स्थिति हुन्छ । ०५७ तिर ट्र्याक खुलेको यो सडक खण्ड ग्राभेलसमेत भएको रहेनछ, कालोपत्रे त परको कुरा । नेपाली विकासे मोडलको गतिलो नमुना हो– लेगुवाघाट–पाख्रिबास खण्ड । धेरै पछि ट्र्याक खुलेका दिक्तेल–भोजपुर र भोजपुर–लेगुवाघाट खण्ड कालोपत्रे भइसक्न लागे । यताको हालत २० वर्षअघिजस्तै छ, चारपांग्रे सवारी गुड्नसमेत हम्मेहम्मे । पाख्रिबास नगरपालिकाले के गर्दै छ भनेर प्रमुख वृष राईलाई फोन गरियो । पाख्रिबास बजारमा भेट्ने समय पाइयो । तर त्यहाँ पुगेर फोन गर्दा प्रमुख नै गायब । धेरैचोटि फोन गर्दा पनि रिसिभ गरेनन् ।

Page 59
Page 60