You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

निर्वाचन कानुन धमाधम

- राजेन्द्र फुयाल

काठमाडौं– संसद्ले निर्वाचन (कसुर तथा सजाय) विधेयकलाई शुक्रबार पारित गरेको छ। यसै साता संसद्बाट पारित निर्वाचनसम्बन्धी यो तेस्रो विधेयक हो। यसअघि संसद्ले निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र मतदाता नामावलीसम्बन्धी विधेयक पारित गरेको थियो। यी तीन कानुन बने पनि निर्वाचनका लागि सबैभन्दा महत्त्वपूर्ण विधेयकमा भने सहमति जुट्न बाँकी नै छ। राज्यव्यवस्था समितिअन्तर्गतको उपसमितिमा स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयकमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिएपछि मात्रै अर्को निर्वाचन गर्ने कि अवधि सकिनुअगावै निर्वाचन गरिसक्ने बाध्यात्मक व्यवस्था राख्ने भन्नेमा सहमति जुटेको छैन। संघीय, प्रदेश र स्थानीय तहमा गरी तीन तहको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी व्यवस्था गरेको संविधानले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने व्यवस्था गरेको छ।

स्थानीय जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिने वर्षको तोकिएको महिनामा अर्को निर्वाचन हुने प्रावधान ऐनमा नै उल्लेख गर्ने वा कार्यकाल सकिनु एक वा दुई महिनाअघि निर्वाचन गरी अघिल्लो जनप्रतिनिधिको पदावधि सकिने दिन नयाँलाई पदभार हस्तान्तरण गर्ने भन्ने विकल्पमा उपसमितिका सदस्यहरूबीच सहमति बन्न बाँकी छ। समितिका केही सदस्यले संविधानमा नै ५ वर्षे कार्यकाल उल्लेख भएको अवस्थामा त्यसअगावै अर्को निर्वाचन गर्ने प्रावधान ऐनमा राख्न नमिल्ने धारणा राखेका छन्।

उपसमितिमै विचाराधीन राजनीतिक दलसम्बन्धी विधेयकमा पनि थ्रेसहोल्डसम्बन्धी व्यवस्थामा पनि सहमति जुट्न बाँकी छ। प्रमुख तीन दलका प्रतिनिधि राष्ट्रिय दल हुनका लागि समानुपातिक प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेको र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको हुनुपर्ने गरी थ्रेसहोल्ड राख्ने पक्षमा छन्। साना दलहरूको तीव्र विरोधपछि उनीहरू कम्तीमा तीन प्रतिशत मत प्राप्त गरेको वा प्रत्यक्षतर्फ एक सिट जितेको हुनुपर्ने व्यवस्थाका लागि लचिलो बनेका छन्। निर्वाचन कानुन पारित गरिसक्न प्रधानमन्त्री पुष्पकमल दाहालले तीन दलका शीर्ष नेताहरूको बैठकमा राखेको समयसीमा (माघ १५) भित्र संसद्मा पेस भएका पाँचमध्ये तीन विधेयक पारित भएका छन्। तर तीन तहको निर्वाचनका लागि आवश्यक पर्ने चार विधेयक भने संसद्मा दर्ता हुनै बाँकी छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्र निर्धारण आयोग सम्बन्धी विधेयक मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन छ। निर्वाचनसँग सम्बन्धित अन्य तीन कानुन (प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन संशोधन विधेयक, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन संशोधन विधेयक र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक) को मस्यौदा नै भएको छैन। राष्ट्रिय सभाको निर्वाचक मण्डलको सदस्यका रूपमा स्थानीय तहका प्रमुख/उपप्रमुख र राष्ट्रपति–उपराष्ट्रपति चयनका लागि संघीय संसदका दुवै सदन र प्रदेशसभाका सदस्यहरूको मतको भार फरक पर्ने संवैधानिक व्यवस्थाका कारण सबै निर्वाचन कानुन अन्तरसम्बन्धित छन्।

संसद्ले पारित गरेको निर्वाचन आयोगको काम, कर्तव्य तथा अधिकारसम्बन्धी विधेयकले निर्वाचनको तिथि घोषणा गर्ने अधिकार सरकारलाई दिएको छ भने शुक्रबार पारित निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयकले निर्वाचनको निष्पक्षतामा प्रतिकूल असर पार्ने कार्यमा लाग्नलाई कडा सजायको व्यवस्था समेटिएको छ। विधेयकअनुसार निर्वाचनलाई प्रभावित गर्ने गरी हातहतियार तथा विस्फोटक पदार्थ प्रयोग वा प्रदर्शन गर्नेलाई २ लाख रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैदको सजाय हुन सक्छ। निर्वाचनको वातावरण बिथोल्ने अन्य कार्यका लागि एक लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ। विधेयकमा कानुनबमोजिम तोकिएको हदभन्दा बढी खर्च गर्ने र गैरकानुनी सहयोग प्राप्त गरेको ठहर भएमा उम्मेदवार विजयी घोषणापछि पनि परिणाम बदर हुन सक्ने व्यवस्था छ। त्यसैगरी चुनाव प्रचारप्रसारलाई भडकिलो हुन नदिन दण्डात्मक व्यवस्था गरेको विधेयकले निर्वाचन खर्च र सहयोग संकलनलाई पारदर्शी बनाउने व्यवस्था गरेको छ।

गृह पृष्ठ

मीरालाई एड्भेन्चर्स अवार्ड

- राजु घिसिङ

काठमाडौं– अल्ट्रा/ट्रेल रनर मीरा राईले नेसनल जोग्राफिकको ‘एड्भेन्चर्स अफ दि इयर २०१७’ अवार्ड जितेकी छन्। फरक–फरक विधाबाट साहसिक कामका लागि मनोनयनमा परेका विभिन्न मुलुकका १० व्यक्तिमध्ये सबैभन्दा
बढी भोट प्राप्त गर्दै उनले यो अवार्ड जितेकी हुन्।‘वाह !’ अनलाइनमार्फत शुक्रबार अवार्ड जितेको सार्वजनिक भएपछि मीराले भनिन्, ‘सोच्दै नसकेको सफलता प्राप्त भएको छ।’ नोभेम्बरमा ‘टप टेन’ को मनोनयन सार्वजनिक भएपछि सुरु भोटिङ १६ डिसेम्बरसम्म चलेको थियो। ‘सबैको समर्थन र भोटले जितियो, सबैप्रति आभारी छु,’ ईकान्तिपुरको ब्रान्ड एम्बासडरसमेत रहेकी २९ वर्षीया उनले भनिन्, ‘मेरो सफलताले अवसर पायो भने गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ। यो सुरुआत हो, मजस्तै दौड्ने अरू धेरै छन्।

उनीहरूले पनि अवसर पाउनुपर्छ। अब म उनीहरूलाई अगाडि बढाउने प्रयासमा लाग्नेछु।’ नेसनल जोग्राफिकले बर्सेनि प्रदान गर्ने यो अवार्डका लागि अन्वेषण, संरक्षण, सांस्कृतिक पुनरुत्थान, साहसिक खेलकुद, मानवतावाद लगायत क्षेत्रमा ‘ठूलो सपना देखाउने’ व्यक्तिलाई समेट्ने गरेको छ। तीमध्ये प्रेरणादायक मानिएका व्यक्तिलाई सर्वाधिक भोटका आधारमा ‘एडभेन्चरस अफ इयर’ अवार्ड दिने गरिन्छ। मीरा यो अवार्ड लिन जुन, २०१७ मा अमेरिका जाने छिन्। मीरासँगै प्राचीन तवरले बनाइएको नाउ होकुले अ टिम, समुद्री माछाको संरक्षण अभियन्ता स्वानोन स्वान्सन, २३४ दिनमा ३४११ माइल कायक गरेका सेमित ली, ८१५७ मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका एन्टोनी गिरार्ड, अर्जेन्टिना र चिलीमा ५ राष्ट्रिय निकुन्जसहित संरक्षण क्षेत्रका संस्थापक क्रिस्टिन टोम्पिकिन्स मनोनयनमा थिए। पाटागोनिया र अलस्का सबभन्दा छिटो आरोहण गरेका कोलिन हेली, २० वर्षको मिहिनेतपछि पानीमुनि विश्वकै सबभन्दा गहिरो गुफा पत्ता लगाएका अन्वेषक कीर्जिस्तोफ स्टारनोस्की, १५ वर्षीया रक क्लाइम्बर असिमा सिराइसी र संरक्षणवादी पिट म्याक्ब्रिड/केभिन फेडरको पनि मीराका प्रतिस्पर्धी थिए।

अयोग्य लडाकुदेखि च्याम्पियन धावक
भोजपुर सानेदुम्माकी मीराले १४ वर्षको छँदा माओवादीको पूर्णकालीन सदस्य भएर घर छाडेकी थिइन्। जनआन्दोलन २०६२/६३ पछि सैन्य समायोजनमा ‘अयोग्य लडाकु’मा परेपछि वैदेशिक रोजगारमा जान मलेसियाको भिसा लिए पनि उनी स्वदेशमै रोकिएकी थिइन्। कराते प्रशिक्षक ध्रुवविक्रम मल्लको सल्लाहमा पासपोर्ट थन्क्याएर साहसिक दौडमा लागेकी थिइन्। उनी ९ चैत २०७० मा हिमालयन आउटडोर फेस्टिवलको ५० किमि रेसमा पहिलो भएकी थिइन्। त्यो नै उनको पहिलो दौड हो। त्यसबेलासम्म उनलाई अल्ट्रा/ट्रेल रनिङ (साहसिक दौड) के हो भन्ने पनि थाहा थिएन। उनले हिमालयन, मुस्ताङ, मनास्लु, इटाली र हङकङमा गरी लगातार ६ रेस जितिन्। माघ, २०७१ मा हङकङमा भएको एसियाली स्काई रनिङ च्याम्पियनसिप जितेपछि उनी सबैको नजरमा परेकी हुन्। वैशाख, २०७२ मा स्काइरनर वल्र्ड सिरिजअन्तर्गत मोन्ट–ब्लान्क (फ्रान्स) रेसमा कीर्तिमानसहित स्वर्ण जितेपछि विश्वमै चर्चित् भइन्।

विश्वस्तरको अल्ट्रा रेसमा नेपाली धावकको पहिलो सफलता त्यही थियो। उनी सन् २०१५ को अल्ट्रा स्काई म्याराथन वल्र्ड सिरिजमा उपविजेता भएकी थिइन्। छोटो अवधिमै ठूलो सफलता साहसिक दौडमा दुर्लभ मानिन्छ। बाबुआमाका आठ सन्तानमध्येकी यी जेठी छोरी २०१६ मा वल्र्ड सिरिज च्याम्पियन बन्ने लक्ष्यसहित युरोपतर्फ लागेकी थिइन्। तर उनलाई चोटले सतायो। बायाँ घुँडामा भएको ‘एसीएल टियर’को गत साउनमा उनले इटालीमा शल्यक्रिया गराएकी थिइन्। अहिले उनी अभ्यासमा फर्किसकेकी छन्। ‘अझै पूर्ण रूपमा रिकभर भइसकेको छैन, शारीरिक अभ्यास र योग गरिरहेकी छु,’ मीराले भनिन्, ‘केही महिनापछि वल्र्ड सिरिजको रेसमा पुनरागमन गर्ने योजना बनाएकी छु। यो सिजन (२०१७) मा राम्रो गर्ने प्रयास गर्नेछु।’ उनको सहयोगमा हङकङ पुगेकी जुम्लाकी सुनमाया बुढा गत महिना एसियन स्काइरनिङ च्याम्पियन भएकी थिइन्।

गृह पृष्ठ

राष्ट्रपतिको नयाँ निवास

- कुलचन्द्र न्यौपाने

काठमाडौं– झट्ट हेर्दा विदेशको कुनै भवन जस्तो देखिन्छ। यो ‘रेड एन्ड ह्वाइट’ भवन राष्ट्रपति निवास हो। साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी माघ ७ देखि बस्न थालेकी छन्। भूकम्पले क्षति पुगेपछि राष्ट्रपति प्रिफेव भवनमा बस्दै आएकी थिइन्। नयाँ भवन भूकम्प जानुअघिदेखि नै बनाउन थालिएको थियो। निवास बन्नुअघिसम्म राष्ट्रपति भवनमै अफिस र निवास थियो।
राष्ट्रपति बस्नकै लागि यो भवन बनाइएको हो। अफिस भने पुरानै भवनबाट सञ्चालन हुनेछ। पुरानो भवन पछाडि बनाइएको निवासमा चार ब्लक रहेको इन्जिनियर महेश भट्टले बताए। जसलाई ए, बी, सी र डी नाम दिइएको छ। ए ब्लक सबैभन्दा ठूलो ५ तलाको छ। जसमा राष्ट्रपति बस्ने हो। अन्य तीन ब्लक दुई तलाका छन्। चारवटै ब्लकबीचमा राणाकालीन शैलीको ‘कोडयार्ड’ अर्थात् पार्टी हल छ। चारवटा ब्लकबाट घेरिएर बनेको हल साठी जना क्षमताको छ। त्यस अतिरिक्त बैठकका लागि अन्य तीनवटा हल छन्। निवासमा चारै दिशाबाट प्रवेशद्वार छ। पूर्व ढोकाबाट राष्ट्रपति मात्रै प्रवेश गर्ने व्यवस्था छ। उत्तर ढोकाबाट विदेशी पाहुना, दक्षिण ढोकाबाट नेपाली पाहुना र पश्चिम ढोकाबाट कर्मचारी छिर्ने व्यवस्था छ। राष्ट्रपति बस्ने ए ब्लकको भवन पूरै सेर वाल अर्थात् इँट्टाढुंगाको प्रयोग नगरी ढलानबाट बनाइएको हो। सुरक्षाका दृष्टिले यसरी बनाइएको प्राविधिकहरूको भनाइ छ। ब्लक बी, सी र डीमा बैंकेट, बैठक, हेल्थ सर्भिसलगायत सुवधा छन्। राष्ट्रपतिको उपचार निवासमै गर्न सकिने व्यवस्था छ। एक निजी चिकित्सकका लागि आवाससमेतको व्यवस्था छ। सम्पूर्ण भवनको कन्ट्रोल ग्राउन्ड फ्लोरबाट गरिन्छ।

अन्डर ग्राउन्डमा हेल्थ क्लब छ। जसमा जिम, सोना स्टिमदेखि सबै सुविधा उपलब्ध छ। अन्डर ग्राउन्डमा कोल्ड स्टोरको व्यवस्थासमेत छ। खासमा यसको प्रयोजन अर्कै छ। मुलुकमा कुनै आपत्कालीन अवस्था परेमा राष्ट्रपतिलाई अन्डर ग्राउन्डमै बस्न मिल्ने र त्यहींबाट कार्यालय सञ्चालन गर्न मिल्ने डिजाइनमा बनाइएको हो। यसमा सेन्टर हिट प्रणाली जडित छ। भवनको डिजाइन इस्टवेस्ट इन्जिनियरिङले गरेको हो। भवन डिजाइनका लागि गरिएको प्रतिस्पर्धामा यो पहिलो भएको थियो। इस्टवेस्ट इन्जिनियरिङको डिजाइनमा तुन्डी समानान्तर जेवीले भवन निर्माण गरेको हो। भवन बनाउन साढे ६२ करोड रुपैयाँ खर्च भएको छ।

Page 2
समाचार

कुष्ठरोगी खोज्दै घर–घरमा

- अतुल मिश्र

बाँके-सरकारले सन् २०२० सम्म सबै जिल्लाबाट कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियाका घर–घर गएर कुष्ठरोगी खोज्न सुरु गरेको छ। कुष्ठरोगी सबभन्दा बढी भएको बाँके र तेस्रो जिल्ला बर्दियामा सरकारले सोमबार उपचारमा नआएका कुष्ठरोगी खोज्न थालेको हो। महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र कुष्ठरोग प्रभावितको समूहले बाँके र बर्दियाका २५/२५ गाविससहित नगरपालिकामा हरेक घर गएर कुष्ठरोगी खोजिरहेको छ।

स्वास्थ्य मन्त्रालय, कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अभियानको पाँचौं दिन शुक्रबारसम्ममा बाँके र बर्दियामा गरी जम्मा १ सय ९२ जना नयाँ कुष्ठरोगी पत्ता लागेको जानकारी दिए। विश्व स्वास्थ्य संगठनका डा. केशव योगीका अनुसार कुष्ठरोगी महिला करिब ४० प्रतिशत र पुरुष करिब ६० प्रतिशत देखिए पनि संक्रमणको दर बराबर जस्तै रहेको छ। अझ ५ वर्षअघि बिरामीमध्ये करिब ३० प्रतिशत महिला र ७० प्रतिशत पुरुष थिए। घर–घर गएर बिरामी खोजी उपचार गराउने क्रम जारी राख्दा आगामी ५ वर्षभित्र कुष्ठरोगले हुने अंगभंग र अपांगता रोक्न सकिने विश्वास महाशाखाको छ।

२०६५ मा सरकारले मुलुकमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो। तर अझै १८ जिल्लामा कुष्ठरोगी भेटिइरहेका छन्। १० हजार जनसंख्यामा एक जनाभन्दा कम कुष्ठरोगी भए त्यसलाई निवारणको अवस्था मानिन्छ। बाँकेसहित १८ जिल्लामा अझै १० हजार जन संख्यामा एक जनाभन्दा बढी कुष्ठरोगी छन्।मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रीता भण्डारी जोशीका अनुसार बाँकेमा १० हजार जनसंख्यामा करिब ३ जना कुष्ठरोगी छन्। बाँकेपछि धनुषा र त्यसपछि बर्दियामा सबभन्दा बढी कुष्ठरोगी छन्। मुलुकमा बर्सेनि करिब ३ हजार नयाँ कुष्ठरोगी उपचारमा आउने गरेका छन्।

सामाजिक भेदभावका कारण अझै रोग लुकाउने प्रवृत्ति रहेकाले सरकारले यो अभियान थालेको जनाउँदै डा. पाण्डेले भने, ‘बाँके र बर्दिया जिल्लामा सफल भएपछि यस्तो अभियान बाँकी जिल्लामा समेत सञ्चालन गरिन्छ।’ डा. पाण्डेले नेपालमा यो अभियान सफल भए भविष्यमा यसै मोडेललाई छिमेकी राष्ट्र भारतमा समेत लागू गर्न सकिने अन्तर्राष्ट्रिय संस्थाहरूले प्रतिबद्घता प्रकट गरेको जनाए। यो अभियानमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, सासाकावा मेमोरियल हेल्थ फाउन्डेसन, इन्टरनेसनल नेपाल फेलोसिप र टीबी नेपालको सहकार्य छ।

मुख्य रूपमा छाला र स्नायुमा असर गर्ने कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म कीटाणुबाट लाग्ने धेरै कम सर्ने रोग हो। बिरामीसँग लामो समयसम्मको सम्पर्कले सर्न सक्छ। रोग सरेको २ देखि ५ वर्षभित्र कुष्ठरोगको लक्षण शरीरमा देखिन थाल्छ। यो रोगमा नचिलाउने, छुँदा थाहा नहुने दाग छालामा देखिन्छ। यसमा छाला बाक्लो हुने, गिर्खा देखिने गर्छ। रोगले स्नायुमा असर गर्दा हात, खुट्टामा छुँदा थाहा हुँदैन। रोगले मांसपेशीलाई कमजोर बनाउँछ।

समाचार

न्यायसम्बन्धी सम्मेलन सुरु

- कान्तिपुर संवाददाता

काठमाडौं– अपराध पीडितलाई प्रभावकारी रूपमा न्याय दिलाउनका लागि फौजदारी मुद्दालाई प्रभावकारी बनाउन प्रहरी र सरकारी वकिलको संयुक्त सम्मेलन शुक्रबारदेखि सुरु भएको छ। सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन आफूले सहयोग गर्ने बताए। केही वर्षयता अपराध संगठित भएको र त्यसले अन्तर्देशीय रूप धारण गरेको उल्लेख गर्दै उनले फौजदारी न्याय प्रणाली पनि समयअनुकूल परिमार्जन हुनुपर्ने धारणा राखे।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले फौजदारी न्याय प्रणालीमा हुने अधुरा अनुसन्धानले पूर्ण न्याय सम्भव नहुने भएकाले अनुसन्धान र अभियोजनमा संलग्नबीच सहकार्य हुनुपर्ने बताए। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराधमा राजनीतीकरण बढेको उल्लेख गर्दै अनुसन्धानमा संलग्न प्रहरीहरू राजनीतिक दबाबबाट मुक्त
हुनुपर्ने बताए। सम्मेलनमा २ सय ३५ जना प्रहरी अनुसन्धानकर्ता, २ सय ५० सरकारी वकिल, विधिविज्ञ लगायतका २० जना पर्यवेक्षक, महान्यायाधिवक्ता र प्रहरी प्रधान कार्यालयबाट ३० जनासमेत गरी ५ सय ३५ जना सहभागी छन्।

समाचार

भूमध्यसागरीय प्रणालीले देशैभर वर्षा

- कान्तिपुर संवाददाता

काठमाडौं – ‘पश्चिमी न्यून चापीय प्रणाली’ सुदूरपश्चिमी जिल्लाहरूमा प्रवेश भएसँगै उत्पन्न भएको बदलीका कारण शुक्रबार मुलुकभर वर्षा भएको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार भारतको उत्तराखण्डबाट बिहीबार अपराहन प्रवेश भएको भूमध्यसागरीय मौसमी प्रणालीका कारण सुदूरपश्चिम र मध्यपश्चिमी भागमा बिहीबारैदेखि र मध्य तथा पूर्वी भागमा शुक्रबार बिहानदेखि वर्षा भएको हो। महाशाखाका अनुसार सुदूरपश्चिमका दिपायल, डडेलधुरा, धनगढी, मध्यपश्चिमका वीरेन्द्रनगर, नेपालगन्ज, जुम्ला र दाङलगायतका क्षेत्रमा बिहीबार नै पानी परेको थियो। वर्षासँगै हिमाली जिल्ला र उच्च पहाडी भागमा हिमपातसमेत भएको छ। भूमध्यसागरमा उत्पन्न भएको मौसमी प्रणाली इरान, अफगानिस्तान, पाकिस्तान, जम्मुकश्मीर र भारतको उत्तराखण्ड हुँदै बिहीबार सुदूरपश्चिमका जिल्लामा प्रवेश भएको थियो। ‘त्यो प्रणाली शक्तिशाली भएकाले हामीकहाँ पनि असर पर्‍यो र देशैभरि वर्षा भयो,’ मौसमविद् रिमालले भने, ‘तराईदेखि हिमाली क्षेत्रसम्मै असर परेको छ। धेरै भागमा पानी पर्‍यो।’

उनका अनुसार उक्त प्रणाली शुक्रबार बिहानदेखि मध्य र पूर्वी भागतिर सर्दै गएको थियो। प्रणाली पोखरा आसपासमा बढी केन्द्रीकृत भएर बसेको उनले उल्लेख गरे। अर्का मौसमविद् समीर श्रेष्ठले शुक्रबार अपराहनदेखि सुदूरपश्चिमी भागको मौसम खुल्दै आएकाले शनिबार मौसममा सुधार
आउने बताए।

‘मध्य र पूर्वी भाग हुँदै यो प्रणाली सकिन्छ,’ मौसमविद् श्रेष्ठले भने, ‘यसपछिका दिन न्यानो हुने हाम्रो अनुमान छ।’ तर, अहिले नै हिउँद नसकिएकाले पश्चिमी भागमा फेरि पनि पानी पार्ने प्रणाली आउन सक्ने मौसमविद्हरूको आकलन छ। बिहीबारदेखि शुक्रबारसम्म सबभन्दा बढी वीरेन्द्रनगरमा २७.८ मिलिमिटर वर्षा भएको छ।

समाचार

माथेमा सचिवमा बढुवा

- कान्तिपुर संवाददाता

काठमाडौं – सरकारले वन अनुसन्धान तथा सर्वेक्षण विभागका महानिर्देशक प्रकाश माथेमालाई कृषि तथा वन समूह (क्लस्टर) मा रिक्त सचिवमा बढुवा गरेको छ। लोकसेवाका अध्यक्ष उमेश मैनाली संयोजकत्वमा बसेको बढुवा समितिले कार्यसम्पादन र ज्येष्ठताका आधारमा सहसचिवत्रय माथेमा, पेमनारायण कँडेल र रामप्रसाद लम्साललाई सचिवमा पदोन्नति गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले माथेमालाई सचिवमा बढुवा गरी वन मन्त्रालयमा पदस्थापन गरेको छ।यसैबीच मन्त्रिपरिषद्ले कर्मचारी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा शैलेन्द्र गिरीलाई नियुक्त गरेको छ।

 

समाचार

ओलीको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक सार्वजनिक

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुँदा गरेका मुख्य–मुख्य सम्बोधन समेटिएको पुस्तक सार्वजनिक भएको छ। एमाले केन्द्रीय कार्यालयले प्रकाशन गरेको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक शुक्रबार राजधानीमा स्तम्भकार र लेखकहरूले संयुक्त रूपमा विमोचन गरे। ओलीले आफूले इमानदारीपूर्वक गर्न खोजेका कामको विवरण पुस्तकमा समेटिएको बताए। पुस्तकमाथि विजयकुमार पाण्डे, सौरभ, श्रीकृष्ण अनिरुद्ध गौतम, कृष्णमुरारी भण्डारी, चरण प्रसाईं र एमाले नेता रघुवीर महासेठले टिप्पणी गरेका थिए। 

समाचार

अनलाइनबाट कन्सुलर सेवा

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं – विदेशमा अलपत्र परेका तथा हराएका व्यक्तिलाई खोजी गर्नका लागि पीडितका आफन्त राजधानीसम्म आउनुपर्ने बाध्यता हटाउन कन्सुलर विभागले शुक्रबारदेखि अनलाइन सेवा सुरु गरेको छ। सेवा सुरु गर्दै परराष्ट्रमन्त्री प्रकाशशरण महतले पायक पर्ने स्थानबाट अनलाइनबाटै उजुरी दिने व्यवस्था मिलाइएको बताए। विभागले अनलाइनबाटै विदेशस्थित नेपाली दूतावासले घटना अपडेट गर्नेछ।

 

समाचार

घरेलु कामदार पक्राउबारे विवरण माग

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं – सरकारले सुराकीको अभियोगमा लेबनानमा पक्राउ परेका दुई नेपाली घरेलु कामदार (हाउसमेड) का विषयमा लेबनानी सरकारसँग यथार्थ विवरण मागेको छ। लेबनानले इजरायललाई आफ्नो सूचना दिई सुराकी गरेको अभियोगमा दुई नेपाली युवती पक्राउ गरेपछि इजिप्टस्थित नेपाली दूतावासले लेबनानी सरकारलाई पत्र पठाई विवरण मागेको हो।

 

Page 3
समाचार

चुनाव पर्खंदै गाउँबस्ती

स्थानीय निकाय करिब १४ वर्षदेखि जनप्रतिनिधिविहीन छन्। यस्तो अवस्थामा गाउँ–गाउँमा दलका नेता/कार्यकर्ता चुनाव मिति घोषणाको पर्खाइमा छन्। आम सर्वसाधारण पनि मताधिकार प्रयोग गर्न पाउने अवसर कुरिरहेका छन्।
- कान्तिपुर टिम
जाजरकोटको खगेनकोटस्थित दल्लीमा कांग्रेसको कार्यकर्ता भेला (माथि), रुकुममा माओवादी केन्द्रको चुनाव प्रचार (बीच) र दाङमा चुनाव लक्षित गर्दै एमाले प्रवेश गराइएका युवाहरू ।

काठमाडौं-मोरङका मुख्य तीनवटै दल चुनावको तयारीमा जुटेका छन्। मधेसवादी दलहरू भने आन्दोलनको तयारीसँगै निर्वाचन निश्चित भए चुनावमा जाने रणनीतिमा लागेका छन्। ‘जिल्लाका अधिकांश गाउँका निर्वाचन केन्द्रित सम्मेलन सकिएका छन्,’ कांग्रेस सभापति डिकबहादुर लिम्बुले भने, ‘शनिबारबाट क्षेत्रीय सम्मेलन हुँदै छन्। कांग्रेसले केन्द्रीय सदस्य फर्मुला मन्सुरलाई मोरङ प्रतिनिधिका रूपमा पठाएको छ। केन्द्रीय नेता शेखर कोइराला, महेश आचार्य, मीनेन्द्र रिजालसमेत गाउँमा विभिन्न कार्यक्रम लिएर गइरहेका छन्।

एमाले मोरङका अध्यक्ष विनोद ढकालले निर्वाचनको तयारीका लागि जिल्ला कमिटीको बैठक केही दिनमा बस्न लागेको बताए। ‘जिल्ला अधिवेशन एक साताअघि मात्र सकिएकाले वडादेखि गाउँ, इलाका र क्षेत्र जिल्लासम्म पूर्ण रूपमा चलायमान छ,’ उनले भने, ‘निर्वाचनको मिति घोषणा भए पूर्ण तयारीमा छौं।’ माओवादी केन्द्र मोरङमा सदस्यता नवीकरण भइरहेको छ। ‘सदस्यता नवीकरणसँंगै गाउँ कमिटीहरूमा चुनाव केन्द्रित बैठक र छलफल सुरु भएको छ,’ पोलिटब्युरो सदस्य गणेश उप्रेतीले भने, ‘निर्वाचनको रणनीतिक तयारीमा जुटेका छौं।’ मधेसवादी दलहरू भने संगठन विस्तार जारी रहे पनि त्यो आन्दोलनका लागि नै भएको दाबी गर्छन्। ‘हाम्रा गाउँ समितिहरूसम्म बैठक तथा छलफल जारी छन्। तर ती सबै आन्दोलनका लागि हुन्,’ मधेसी जनअधिकार फोरम मोरङका अध्यक्ष राजकुमार यादवले भने, ‘यदि संविधान संशोधन नभई निर्वाचन घोषणा भयो भने आन्दोलनमा यही शक्तिको प्रयोग गर्छौं। संशोधन भएर निर्वाचन भयो भने त्यसका लागि पनि तयारीमा छौं।’ सद्भावना पार्टीका मोरङ अध्यक्ष राधे कामतले गाउँ समिति गठनमा व्यस्त रहेको बताए।

सिरहामा मधेसवादी दलका नेता/कार्यकर्ता ‘परिस्थितिअनुसार अगाडि बढ्न’ शक्ति सञ्चयमा लागेका छन्। ‘सरकारले माग पूरा गरे चुनावमा होमिन्छौं, पूरा नभए आन्दोलनका लागि पनि तयारी अवस्थामा छौं,’ समाजवादी फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादवले भने। सद्भावना सिरहाका अध्यक्ष रामबहादुर महतोले पनि आफूहरू संगठन विस्तारमा सक्रिय भएको जनाए। महतोले गाउँ–गाउँमा भ्रातृ संगठनहरूको भेलासहित युवा, विद्यार्थी, किसान, मजदुरलगायत १४ वटा वर्गीय मञ्चको जिल्ला अधिवेशनको तयारी भइरहेको बताए।

तमलोपा सप्तरीका अध्यक्ष रामप्रित यादवले चुनावलाई लक्ष्य गरी साधारण सदस्यता वितरण सुरु गरिएको जनाए। फोरमका राजनीतिक समिति सदस्य शैलेन्द्रप्रसाद साहले क्षेत्र ३ मा मंसिरबाटै अभियान सुरु गरेको बताए। खुलेर निर्वाचनसम्बन्धी कार्यक्रम भन्न नसके पनि ती पार्टीले गाउँमा सदस्यता वितरण गरिरहेका छन्। सद्भावनाका वरिष्ठ उपाध्यक्षद्वय मृगेन्द्रकुमार सिंह यादव र नवलकिशोर साह दैनिक रूपमा कुनै न कुनै गाउँमा सदस्यता बाँडिरहेका भेटिन्छन्। राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डल र जिल्ला अध्यक्ष सतिसकुमार सिंह पनि ग्रामीण क्षेत्रमा सदस्यता वितरण गर्ने र संगठन विस्तारमा व्यस्त छन्।

दुई महिनायता कांग्रेसले मन्त्रीहरू विमलेन्द्र निधि, रमेश लेखक, गगन थापा, नवीन्द्रराज जोशीलगायत केन्द्रीय नेतालाई गाउँ लगेर कार्यक्रम गरेको छ। ‘स्थानीय निर्वाचन मुख्य आवश्यकता भइसकेको छ,’ सप्तरी कांग्रेस सभापति दिनेशकुमार यादवले भने, ‘अब पनि स्थानीय निकाय जनप्रतिनिधिको हातमा गएन भने बर्बादै हुन्छ।’ एमालेले पनि माधवकुमार नेपाललगायत केन्द्रीय नेतालाई पठाएर कार्यक्रम गर्दै आएको छ।

‘चुनाव हुन्छ र?’
कतिपय सर्वसाधारणमा भने चुनाव हुनेमा अझै विश्वास छैन। ‘दलहरू तात्न थाले तर जनता तातेका छैनन्,’ कैलालीका थारू बुद्धिजीवी बलराम चौधरी भन्छन्, ‘एउटा पुस्ताले त स्थानीय निर्वाचन कस्तो हुन्छ देखेको पनि छैन।’ दलका क्रियाकलाप र झगडाले निर्वाचन होला भनेर सर्वसाधारण विश्वस्त हुन नसकेको उनले बताए।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति र जनमोर्चा जस्ता मूलधारका राजनीतिक दलहरूले कैलालीसमेत सुदूरका तराई र पहाडी जिल्लाहरूका गाउँ–गाउँमा चुनावी प्रशिक्षण, वडादेखि क्षेत्रसम्मका कार्यकर्ता भेला र आमसभासमेत सुरु गरिसकेका छन्। ‘कांग्रेसले वडादखि इलाकासम्मका प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ,’ कांग्रेस कैलालीका उपसभापति प्रकाश बमले भने।

‘गाउँ र नगरका वडाभित्र पनि टोल इकाई गठन गरी चुनावी अभियान सुरु भएको छ,’ एमाले कैलालीका सचिव रणबहादुर चन्दले भने। माओवादी केन्द्रले पनि कैलालीमा विशेष निर्वाचन अभियान सञ्चालन गरेको छ। ‘पुन:संरचना आयोगले तोकेअनुसारका स्थानीय तहको निर्वाचनका लागि हामीले जनपरिचालन सुरु गरिसकेका छौं,’ माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेश धामीले भने, ‘गाउँनगर घर–घर जाउँ भन्ने मूल नाराका साथ हामी चुनावी तयारीमा जुटेका छौं।’

कञ्चनपुरमा कांग्रेसले संगठन सुदृढीकरण अभियान तीव्र गराएको सभापति हरि बोहराले बताए। उनका अनुसार स्थानीय निर्वाचनमा अहिल्यैदेखि टिकटका लागि तँछाडमछाड सुरु भइसकेको छ। ‘उम्मदेवारका आकांक्षीहरू बिहानैदेखि घरमै पुग्न थालिसके,’ उनले भने, ‘अधिकांश उम्मेरदवार युवापुस्ताका देखिएका छन्।’

एमाले कञ्चनपुरले चुनावी गतिविधि अग्रसरतापूर्वक गरिरहेको जानकारी दिएको छ। एमालेले करिब १ महिनादेखि ४ महिने अभियानसहित घरदैलो कार्यक्रम सुरु गरेको कञ्चनपुरका सचिव सुरेन्द्र विष्टले बताए। माओवादी केन्द्रले पनि फागुन अन्त्यसम्म जिल्ला अधिवेशन गर्ने भएकाले पनि संगठन विस्तारमा जोड दएको छ। ‘अहिले अधिवेशनसँगै चुनावका लागि तयारी भइरहेको छ,’ केन्द्रका केन्द्रीय महाधिवेशन सदस्य गगन सिंहले भने।

बझाङमा कात्तिकबाट जिल्लाव्यापी अभियान थालेको एमालेले ‘संविधान कार्यान्वयनका लागी जनपरिचालन अभियान’ नाम दिएर गाउँ–गाँउमा कार्यक्रम गरिरहेको छ। इलाका स्तरका भेला र प्रशिक्षणमा लागेको कांग्रेसले चिसो बढेका कारण केही समय अभियान स्थगित गरेको भए पनि अब स्थानीय तह केन्द्रित अभियान चलाउने तयारीमा छ।पहिलो पटक स्थानीय निकायको चुनावको सामना गर्न लागेको माओवादी केन्द्रले पनि स्थानीय तहस्तरमा संगठन सुदृढीकरणका अभियान सुरु गरेको छ। झन्डै २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा दलका तर्फबाट उम्मेदवार छनोट गर्न ठूलो चुनौती रहेको नेताहरू बताउँछन्।

बाजुरामा राजनीतिक दलका कार्यकर्ताहरू स्थानीय निर्वाचनको मिति घोषणाको पर्खाइमा छन्। जिल्लामा मुख्य दलहरूले निर्वाचन केन्द्रित गतिविधिसमेत सुरु गरेका छन्। एमालेले स्थानीय निर्वाचनलाई नै लक्षित गरी ४ महिने जनअभियान सञ्चालन गरेको छ। कांग्रेसले समेत जागरण अभियान नाम दिएर फागुनसम्म सञ्चालन हुने गरी थप दुई महिने अभियान चलाउने निर्णय गरेको छ। माओवादी केन्द्र पनि सक्रिय भएको छ।
अछाम र दार्चुलाका तीन प्रमुख दलका नेताहरूले पनि सरकारले घोषणा गर्ने चुनावी मितिको पर्खाइमा रहेको बताएका छन्। ‘जनता चुनावमा भाग लिन आतुर छन्,’ उनीहरूको मिल्दोजुल्दो कथन छ। नरसंहारको घटना भएको टीकापुरमा पनि चुनावी चहलपहल सुरु भएको छ। पुरानो घटनाको तुष यहाँ देखिँदैन।


भित्रभित्रै तयारी
कास्की कांग्रेस सभापति कृष्ण केसीले मिति तोकिएपछि तयारी देखिने बताए। ‘आन्तरिक रूपमा तयारी गरेका छौं। मिति घोषणा नभएकाले बाहिर नदेखिएकोमात्र हो,’ उनले भने। एमालेका कास्की अध्यक्ष कृष्ण थापाले पनि घोषणा हुनासाथ अभियान सार्वजनिक गरी चुनावमा होमिइहाल्ने बताए। माओवादी (केन्द्र) कास्कीका संयोजक दीपक कोइरालाले संगठन निर्माणमा व्यस्त रहेको जानकारी दिए।

बागलुङमा ठूला दलका नेताहरू जागरण अभियानअन्तर्गत गाउँ पस्ने तयारीमा छन्। संघीयताको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चा पनि यहाँ सक्रिय छ। तनहुँमा सदरमुकाम केन्द्रित एकाध कार्यक्रम भए पनि गाउँस्तरमा पार्टीका चुनावी कार्यक्रम सुरु भएका छैनन्। ‘संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेका छौं,’ कांग्रेसका जिल्ला सभापति वैकुण्ठ न्यौपानेले भने। एमाले अध्यक्ष केदार सिग्देलले निर्वाचनमुखी कार्यक्रम सुरु गरेको बताए। माओवादी केन्द्र, नयाँ शक्ति नेपाल र अन्य साना दलले पनि संगठन विस्तार गरिरहेका छन्।

सरकारले ५ नम्बर प्रदेशका पहाडी र तराईका जिल्ला छुट्याउने गरी संसद्मा पेस गरेको प्रस्तावविरुद्ध आन्दोलित पाल्पा, अर्घाखाँची र गुल्मीमा पनि दलहरू चुनावी तयारीमा जुटेका छन्। पाल्पामा एमाले, कांग्रेस र माओवादी केन्द्रले स्थानीय निकाय चुनावमा आफ्नो वर्चस्वका लागि भित्री गतिविधि तीव्र पारेका छन्। अर्घाखाँचीमा पनि चुनाव लक्षित गतिविधिलाई तीव्रता दिइएको छ। प्रदेश टुक्र्याउन लागेको विरोधमा निरन्तर संयुक्त आन्दोलन गर्दै आएका सबै दलले गुल्मीमा सहमतिमै आन्दोलनलाई मत्थर बनाएका छन्।

चितवनमा कांग्रेसले एक महिनादेखि जागरण अभियान सञ्चालन गरिरहेको छ। अभियानअन्तर्गत कांग्रेसले ४ सय २ सक्रिय सदस्य परिचालन गरेको छ। त्यसका लागि १ सय ३४ समूह बनाइएको छ। ‘चुनावका लागि सशक्त तयारीमा जुटेका छौं,’ जिल्ला सभापति जितनारायण श्रेष्ठले भने। एमालेले माघ २० बाट घरदैलो कार्यक्रम गर्ने जनाएको छ। अध्यक्ष कृष्णभक्त पोख्रेलले भने, ‘जिल्लामा रहेका ५ हजार क्रियाशील सदस्य परिचालन गर्नेछौं। माओवादी केन्द्रका संयोजक यमबहादुर परियारले निर्वाचनका लागि मतदातासँग अन्तक्र्रियाको तयारी भइरहेको जानकारी दिए।

मकवानपुरमा निर्वाचन कार्यालयले गाउँ र नगरमा मतदाता नामावली अद्यावधिक गरिरहेको कार्यालय प्रमुख गोविन्द पौडेलले बताए। दलहरूले गाउँ र नगरमा विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। नवलपरासीमा भने राजनीतिक दलले तयारी थालेका छैनन्। दाङमा नेताहरू होटेलमा बस्नुको साटो गाउँमा गएर कार्यकर्ता भेटघाट गर्ने र गाउँमै बस्ने गरिरहेका छन्। हालै कांग्रेस सभापति शेरबहादुर देउवा हेकुलीको चखौरामा बास बसेर थारू अगुवासँग छलफल गरेका थिए। राप्रमा प्रवेश गरेकी नायिका रेखा थापाले पनि जिल्लामा आएर राजनीतिक भेटघाट गरिन्। एमालेले पनि गाउँ र इलाकास्तरीय कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष प्रेम थापाले बताए।

सहमतिबिना ‘असम्भव’
मधेसवादी दलको मागअनुरूप संविधान संशोधन नगरी तराईमा स्थानीय निकाय निर्वाचन असम्भव हुने स्थानीय दलको भनाइ छ। पर्सास्थित मधेसवादी दलका मात्र नभई केन्द्रीय दलका नेताको पनि यस्तै भनाइ छ। नेकपा संयुक्त जिल्ला अध्यक्ष रामराज जैसवालले मधेसवादी दललाई साथ नलिई निर्वाचन असम्भव हुने बताए। कांग्रेस युवा नेता दिलीपराज कार्कीले मधेसका दललाई साथ नलिई गरिने निर्वाचनले प्रमुख दलसँगको दूरी बढ्ने धारणा राखे। ‘पहिले मधेसवादीलाई चित्त बुझाउनुपर्‍यो,’ उनले भने, ‘अनि मात्र निर्वाचनमा जानुपर्छ।’ सद्भावना वीरगन्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफले जिल्लामा हालको अवस्थामा संविधान संशोधन नगरी स्थानीय निकायको निर्वाचनको माहोल नबन्ने बताए। संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष एवम् सभासद लालबाबु राउतले संविधानमा रहेका त्रुटिहरू नसच्याएसम्म यथास्थितिमा चुनावमा जान नसकिने उल्लेख गरे। शिख समुदायका अगुवा जसपाल सिंह पनि मधेसवादी दललाई सहमतिमा नलिई निर्वाचनमा जानुको औचित्य देख्दैनन्।

बाराका चोक, चियापसल, चौतारोमा राजनीतिक सुझबुझका व्यक्तिले चुनावबारे भलाकुसारी गर्न थालेका छन्। तर चुनाव यति सजिलो भइहाल्छ भन्नेमा उनीहरू अझै विश्वस्त देखिँदैनन्। समाजशास्त्रका प्राध्यापक वीरेन्द्र साह भन्छन्, ‘समाज, देश र जनतालाई चुनाव अपरिहार्य छ। तर, यसको प्रक्रिया अघि बढाउन सहमति र सहकार्यको विकल्प छैन।’

सर्लाहीस्थित मोर्चा आबद्ध नेताले भने स्थानीय निकायको नभई केन्द्रको निर्वाचन गर्न माग गरे। ‘छोटो अवधिमा तीनवटा निर्वाचन सम्भव छैन,’ सद्भावना जिल्ला अध्यक्ष प्रमोद साहले भने, ‘पहिले केन्द्र, त्यसपछि प्रदेश र प्रदेश सरकारले स्थानीय निकायको चुनाव गराउनुपर्छ।’ बर्दियामा पनि दलहरू संगठन विस्तारमा छन्। मुगुका गाउँ–गाउँमा पार्टीहरू पुगेका छन्। कांग्रेसले केही दिनअघि रोवा, पिना र बालै गाउँमा गाउँ कार्यसमितिका सभापतिको भेला, कार्यकर्ता परीक्षण सञ्चालन गरेको छ।

पहाडमा चहलपहल
जाजरकोटका प्रमुख राजनीतिक दलले आमसभा, भेला, प्रशिक्षण, बैठकलगायत गतिविधि बढाएका छन्। कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलको गतिविधि ग्रामीण क्षेत्रमा पनि बढदै गएको छ। शनिबार कांग्रेसले कार्कीबाडा गाविसस्तरीय कार्यकर्ता भेला आयोजना गरेको छ। एमालेले माघ १८ गते २ नम्बर क्षेत्रको भेला रोवा गाविसमा सञ्चालन गर्ने तयारी गरेको छ। माघ २० र २१ गते रारा गाविसको तारापानीमा बृहत् सभा गर्ने एमालेले जनाएको छ। माओवादी केन्द्रका जिल्लास्तरका नेताहरू पनि संगठन विस्तार र कार्यकर्ता भेटघाटमा जुटेका छन्। जुम्लामा तीन दलसहित राप्रपा पनि सक्रिय देखिएको छ। कालिकोटमा दलहरूले गाउँ केन्द्रित अभियान सुरु गरेका छन्। रुकुममा कांग्रेस र एमालेले सरकारले घोषणा गरेमात्र चुनावमा लाग्ने बताएका छन्। माओवादी केन्द्रले चुनाव लक्षित कार्यक्रम जारी राखेको छ। रोल्पामा कांग्रेसले गाविस तथा प्रस्तावित गाउँपालिका केन्द्रित गतिविधि बढाएको छ। एमालेले गत मंसिरदेखि पार्टीको गाउँ केन्द्रित गतिविधि बढाउँदै आएको छ। माओवादीले पनि पार्टी गतिविधि बढाएको छ।

समाचार

पुन:संरचना प्रतिवेदन अझै अनिर्णीत

- राजेश मिश्र

काठमाडौं– सरकारले दलहरूबीच राजनीतिक सहमति जुटाउन नसक्दा स्थानीय तह पुन:संरचना आयोगले बुझाएको प्रतिवेदनलाई कार्यान्वयनमा लान सकेको छैन। आयोगको प्रतिवेदन मन्त्रिपरिषद्मा पुगे पनि सरकार त्यसबारे अनिर्णीत रह्यो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आयोगको प्रतिवेदनबारे चर्चा गरे पनि बैठकले त्यसलाई कार्यान्वयनमा लैजानेबारे निर्णय लिएन। प्रधानमन्त्रीले पुन:संरचनालाई लिएर जिल्ला–जिल्लाबाट असन्तुष्टि व्यक्त भइरहेकाले त्यसबारे थप राजनीतिक छलफल आवश्यक रहेको बताएका थिए। सरकारका प्रवक्ता सञ्चारमन्त्री सुरेन्द्र कार्कीले राजनीतिक तहमा छलफलपछि मात्रै पुन:संरचना आयोगको प्रतिवेदनलाई मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय भएको बताए। आयोगले ७ सय १९ वटा गाउँपालिका र नगरपालिका निर्धारण गर्नुपर्ने सुझावसहितको प्रतिवेदन पुस २२ मा संघीय मामिला तथा स्थानीय विकासमन्त्रीलाई बुझाएको थियो।

आयोगले प्रतिवेदन बुझाउन प्रधानमन्त्रीको समय माग गर्दै आएकोमा राजनीतिक सहमति जुटाउन नसकेका प्रधानमन्त्री त्यतिखेर प्रतिवेदन बुझ्नबाट पन्छिएका थिए। आयोगले प्रतिवेदन तयार भएको र प्रधानमन्त्रीले समय नदिएको भन्दै प्रचारबाजी गरेपछि दबाबमा परेका प्रधानमन्त्री दाहालले प्रतिवेदन बुझ्न मन्त्रीलाई अघि सारेका थिए। तीन सातासम्म मन्त्रालयमा थन्किएको प्रतिवेदन बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुर्‍याइएको हो। मन्त्रिपरिषदको एजेन्डा बनोस् भनेर प्रस्तावका रूपमा मन्त्रालयले प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पठाएको हो। भौतिक योजना तथा पूर्वाधारमन्त्री रमेश लेखकले बैठकमा प्रतिवेदनबारे सामान्य चर्चा मात्रै भएको बताए।

आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै त्यसबाट चुहिएका विषयबाटै कतिपय जिल्लामा आन्दोलन र सदनमा विरोधसमेत सुरु भएको छ। असन्तुष्टिको स्वर बढ्दै गएको छ। प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासमेतले पुन:संरचना प्रतिवेदनमा पुनरावलोकनको आवश्यकता देखिएको बताइरहेका छन्। अर्कोतिर, सरकारले मधेसी मोर्चालाई फकाउन नसक्दा निर्वाचनको तिथि घोषणा गर्न सकेको छैन। संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचन स्वीकार्य नहुने मोर्चाले अडान राख्दै आएको छ। मोर्चाले मधेसका जिल्लामा स्थानीय तहको संख्या कम भएको भन्दै आएको छ। आयोगले स्थानीयस्तरमा राजनीतिक सहमतिबिना जथाभावी ढंगले तराईका जिल्लामा पुन:संरचना गरेको समेत मोर्चाको आरोप छ।

समाचार

आयुक्तहरू सिफारिस

- कान्तिपुर संवाददाता

काठमाडौं – संवैधानिक परिषद्ले निर्वाचन आयोगका रिक्त तीन आयुक्तका लागि पूर्वप्रशासकहरू नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहलाई सिफारिस गरेको छ। प्रधानमन्त्रीले छिट्टै स्थानीय चुनाव घोषणा हुने बताइरहेका बेला परिषदको शुक्रबार बसेको बैठकले पूर्वसचिवद्वय झापाका दाहाल र स्याङ्जाका पौडेल तथा पूर्वसहसचिव रुकुमका शाहलाई सिफारिस गरेको हो।

स्रोतका अनुसार प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रको भागबन्डामा उनीहरू सिफारिसमा परेका हुन्। दाहाल एमाले, पौडेल कांग्रेस र शाह माओवादी केन्द्रले रुचाएका व्यक्ति हुन्। परिषद्ले शुक्रबारै उनीहरूको नाम संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको छ। संसदीय सुुनुवाइबाट अनुमोदन भएपछि उनीहरू नियुक्त हुनेछन्। उनीहरूको नियुक्तिपछि आयोगले पूर्णता पाउनेछ। आयोगमा प्रमुख आयुक्तसहित पाँच जना रहने प्रावधान छ। हाल प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्मामात्र छन्। संविधानअनुसार आउँदो माघ ७ भित्र तीनवटा निर्वाचन गरिसक्नुपर्ने बाध्यता छ। त्यसका लागि तत्काल चुनाव मिति घोषणा गर्नुपर्ने दबाब बढिरहेको छ। चुनाव घोषणा तयारी भइरहेका बेला आयोगलाई पूर्णता दिने प्रक्रिया परिषद्ले अघि बढाएको हो। आयोगले प्राविधिक रूपमा काम गर्न कम्तीमा १ सय २० दिन समय राखेर चुनाव मिति तय गर्न आग्रह गरेको छ। निर्वाचन कानुन केही दिनभित्रै पारित भए जेठ १५ मा चुनाव गर्न सकिने सुझाव आयोगले सरकारलाई दिएको छ।

Page 4
उपत्यका

बिजुली चोर्ने थप पक्राउ

- जनकराज सापकोटा

काठमाडौं– बिजुलीको मिटर उल्टो घुमाएर विद्युत् महसुल ठगीमा संलग्न थप एक व्यक्ति पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले सुकेधाराबाट बुद्ध वासिङ सेन्टरका सञ्चालक बुद्धकुमार लामालाई पक्राउ गरेको हो। महाशाखाले उनको कार्यालयबाट एउटा बिजुली मिटर र दुई थान सिलसमेत बरामद गरेको छ। बिजुलीको मिटरमा लगाइने यस्तो सिल विद्युत् प्राधिकरणका निश्चित कर्मचारीले मात्रै पाउने नीतिगत व्यवस्था छ। पक्राउ परेका लामालाई महाशाखाले काठमाडौं प्रहरी परिसरमा बुझाएको छ।
महाशाखाले गत माघ ९ मा प्राधिकरणका ११ कर्मचारी, एक पूर्वकर्मचारी र ४ व्यापारीलाई पक्राउ गरेको थियो। मिटरको सुई उल्टो घुमाएर खपतभन्दा कम पैसा तिर्ने संगठित धन्दामा वर्षौंदेखि यो समूह सक्रिय रहेको महाशाखाको प्रारम्भिक अध्ययनले देखाएको छ। यही आशंकामा महाशाखाले कपनस्थित रामकृष्ण ढुंगेलले सञ्चालन गरेको सवनम प्लास्टिक उद्योगमा पनि छापा मारेको थियो। ढुंगेल फरार रहेपनि उनको उद्योगबाट प्रहरीले मिटरमा लगाउने सिल २ वटा र एउटा मिटर बरामद गरेको छ। महाशाखाको टोलीले चाबहिलस्थित मुरारी थापाले सञ्चालन गरेको बिजुली टेम्पोको चार्जिङ सेन्टरमा मिटरको सिल २ थान, एउटा मिटर बरामद गरेको छ। थापा भने फरार छन्।

त्यस्तै टोलीले इमाडोलमा रमेशकुमार लुनियाले सञ्चालन गरेको बोतल काराखानामा पनि छापा मारेको थियो। सञ्चालक लुनिया फरार रहे पनि २ थान बिजुली मिटर र ४ थान मिटर सिल बरामद गरेको छ।महाशाखाका एक प्रहरी अधिकारीले फरार सञ्चालकहरूको खोजी तीव्र पारिएको बताए। पक्राउ परेका बुद्धको भने यसअघि पक्राउ परेको विद्युत् प्राधिकरणका कर्मचारीहरूसँग नजिकको सम्बन्ध रहेको देखिन्छ। पछिल्लो एक सातायता प्राधिकरणको प्राविधिक कर्मचारीसहित महाशाखाको टोली विद्युत् चोरी भएका स्थानमा छापा मार्दै हिँडेको छ।

महाशाखाका अनुसार सुरुमा मिटर रिडरहरूले व्यवसायी र घरधनीलाई मिटरमा जति रकम उठे पनि थोरै पैसा तिरेर उम्किन मिल्ने उपाय सुझाउँछन्। मिटरमा जति रकम उठे पनि रिडरले थोरै रकम उठेको बिल तयार पार्छन् र प्राधिकरणकै प्राविधिक कर्मचारीको सहयोगमा मिटरमा लगाइएको सिल तोडेर मिटर उल्टो घुम्ने बनाउँछन्। त्यसपछि मिटर जुन अंकमा पुगेको भए पनि बिलमा चढाइएको रकमकै ठाउँमा मिटरको नम्बर आइपुग्छ। महाशाखाका अनुसार काठमाडौं उपत्यका र बाहिरका जिल्लामा दर्जनौं उद्योग कलकारखाना, गार्मेन्ट, होटल, लज तथा घरमा जडित मिटरबक्समा प्राधिकरणका कर्मचारी र उद्योग व्यवसायीको मिलेमतोमा विद्युत् चोरी भइरहेको छ। 

उपत्यका

नगरा घर साँघुर्‍याइयो

- दामोदर न्यौपाने
वसन्तपुर दरबार क्षेत्रको देगुतलेजु मन्दिरमा पूजा गर्नुअघि बजाइने नगरा राख्ने घर निर्माण गरिँदै । तस्बिर : दामोदर/कान्तिपुर

काठमाडौं-एतिहासिक र धार्मिक महत्त्वको नगरा घर महानगरपालिकाले पुनर्निर्माण गर्दा साँघुरो बनाइदिएको छ। यही अवस्थामा पुनर्निर्माण गरिए नगरा बजाउन साँघुरो हुने यहाँका नगर्चीले गुनासो गरेका छन्।वसन्तपुर दरबार क्षेत्रको देगु तलेजु र कर्णेल चोक मन्दिरमा पूजा गर्नुअघि नगरा बजाउने चलन छ। त्यहाँ नगरा बजाउन दुईकोठे घर बनाइएको छ। ठूला नगरा राख्ने दुई कोठा भुइँचालोले भत्काएको थियो। महानगरपालिकाले करिब ३७ लाख रुपैयाँमा बनाउन लागेको हो। ‘हामीले भन्दाभन्दै झन्डै डेढ फिट साँघुरो बनाइदिए, पूजा गर्न पनि अफ्ठयारो भएको छ,’ प्रमुख नगर्ची वासुदेव परियार भन्छन्, ‘समस्या सुनाउँदा हुन्छ भन्छन्। हुन्छ भन्दाभन्दै आधा गारो लगाइसके। पेलेरै अघि बढिरहेका छन्।’

गीर्वाणयुद्ध शाहले लालमोहर दिएसँगै नगरा बजाउने परम्परा सुरु भएको हो। देगु तलेजु मन्दिर श्वेत भैरव मन्दिरको मूर्तिभन्दा माथिल्लो तलामा यसलाई राखिएको छ। यो मन्दिरलाई देगु तले पनि भनिन्छ। तीनतले यो मन्दिर शिवसिंह मल्लले बनाएका हुन्। यो मन्दिरको प्रवेशद्वार हनुमानढोका दरबारभित्रैबाट छ। माथि देवता बस्ने भएकाले यी देवताको नाम देगुतले भएको विश्वास गरिन्छ। सन् १६६० मा यो मन्दिरको जीर्णाेद्धार गर्दा तामाको छाना र सुनको मोलम्बा लगाइएको गजुर राखिएको थियो।

काठमाडौं महानगरपालिकाका इन्जिनियर कवीन्द्र नकर्मीका अनुसार नगरा घर यसअघि बनाउँदै साँघुर्‍याएको दाबी गर्छन्। २०६९ सालमा महानगरले यसको पुनर्निर्माण गरेको थियो। ‘त्यही बेला मिलाएको भए समस्या हुँदैनथ्यो,’ नकर्मी भन्छन्, ‘अहिले हामीले पहिला जुन जगमा थियो, त्यसैमा बनाएका हौं।’ नगरा घरपछाडि एउटा निजी रेस्टुरेन्ट छ। त्यसैको अगाडिको भाग खुला होस् भनेर नगरा घर साँघुर्‍याइएको दाबी परियारको छ। नकर्मी भने छेउकै वंशगोपाल मन्दिर घुम्न सजिलो होस् भनेर साँघुर्‍याइएको दाबी गर्छन्। ‘पुरानो गारो जस्तो छ, त्यस्तै बनाएका हौं,’ नकर्मी भन्छन्, ‘छेउमा वंशगोपालको पेटी देखियो। फेरि भोलि मन्दिरको पेटी मिचियो भन्लान् भनेर नगराघर भएतिर साँघुर्‍याइएको हो। उति बेलै सल्टाएको भए सजिलो हुन्थ्यो।’

गत वर्षको भुइँचालोमा वंशगोपाल मन्दिरले यो घर थिच्दा पुन: भत्किएको थियो। वंशगोपालले थिचेर एक प्रहरीको मृत्यु भएको थियो। यो घर
पनि विश्व सम्पदा क्षेत्रमा भएकाले साँघुरो बनाउन नहुने सम्पदा संरक्षण संघर्ष समिति सदस्य गणपतिलाल श्रेष्ठ बताउँछन्। ‘कोही बोल्दैनन्
भनेर महानगरले धमाधम आफ्नै सुरमा काम गरिरहेको छ,’ उनी भन्छन्, ‘यो सम्पदा मास्ने षड्यन्त्र हो।’

२०६८ सालमा काठमाडौं महानगरपालिकाअन्तर्गत हनुमानढोका दरबार क्षेत्र संरक्षण आयोजना लागू भयो। आयोजनाले नगरा पूजा व्यवस्थापन गर्न ३ हजार रुपैयाँ दिन थाल्यो। त्यसबाहेक नगरा बजाउनेको केही आम्दानी छैन। भुइँचालो गएयता नगरा बजाउने काम बन्द भएको छ। नगरा जिल्ला प्रहरी कार्यालयको प्रांगणमा राखिएको छ।

उपत्यका

गायक ओझा जेल चलान

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं – तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यले बेवसाइटमार्फत सार्वजनिक गरेको आरोपमा गायक प्रकाश ओझा पक्राउ परेका छन्। गत वर्षको माघ ४ मा सर्वोच्च अदालतले करणी र मानव बेचबिखनसम्बन्धी दुई मुद्दामा ओझालाई १० वर्ष कैद सजायको फैसला गरेको थियो। फैसलालगत्तै फरार ओझालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाएको छ।

ब्युरोका अनुसार सर्वोच्चको फैसलालगत्तै उनी शंखमूल क्षेत्रमा लुकिछिपी गीत, संगीतको रेकर्डिङमा व्यस्त थिए। पुनरावेदन अदालत विराटनगरले गरेको पुरानो फैसला उल्टाउँदै सर्वोच्चले उनलाई दोषी करार गरेको हो। इटहरीका ओझा एक समय गायक तथा हास्यव्यंग्य क्षेत्रमा चम्किएका थिए।

उपत्यका

सेनालाई एम्बुलेन्स

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं – विपत् व्यवस्थापनमा प्रयोग गर्न भन्दै काठमाडौं महानगरपालिकाले नेपाली सेनालाई एम्बुलेन्स प्रदान गरेको छ। महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बा१झ ९१४७ नम्बरको एम्बुलेन्स सेनाका उपरथी किशोरजंग राणालाई हस्तान्तरण गरे।सहयोगले विपत् व्यवस्थापनमा महानगर र सुरक्षा निकायबीचको सहकार्यको निरन्तरता भएको तामाङले बताए। उपरथी राणाले एम्बुलेन्स विपत् व्यवस्थापनमा परेका जनतालाई सहयोग गर्न प्रयोग गरिने बताए। महानगरलाई यो एम्बुलेन्स चीन सरकारले अनुदान सहयोगमा उपलब्ध गराएको हो। एम्बुलेन्समा आकस्मिक स्वास्थ्य उपचारमा प्रयोग हुने सामग्री (रिमुभेबल हस्पिटल) समेत जडान गरिएको छ।

उपत्यका

सम्झौता कार्यान्वयन गर्न समिति

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं – सरकारले प्राध्यापक डा. गोविन्द केसीसँग भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले गठन गरेको समितिका सदस्यमा वीर अस्पतालका पूर्वरजिस्ट्रार डा. श्रीकृष्ण गिरी र शिक्षा मन्त्रालयको उच्च तथा प्राविधिक महाशाखाका सहसचिव सूर्य गौतमलाई सदस्यसचिव तोकेको छ।

 

Page 5
समाचार

रासन कटौतीपछि शरणार्थी भोकै

- अर्जुन राजवंशी
झापाको दमकस्थित बेलडाँगी शिविरमा रासन नपाएका शरणार्थीहरू। तस्बिर : अर्जुन/कान्तिपुर

दमक-राहत वितरण रोकिएपछि विभिन्न शिविरमा आश्रय लिइरहेका भुटानी शरणार्थी मारमा परेका छन्। उनीहरूले पाँच दिनदेखि रासन बुझेका छैनन्।
संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले शरणार्थीलाई रासन उपलब्ध गराउँदै आएको थियो। बेलडाँगी र मोरङको पथरी शनिश्चरेस्थित शिविरमा बस्दै आएका शरणार्थीले पेटभरि खान पाएका छैनन्। जसोतसो खोले खाएर दिन कटाइरहेको उनीहरू बताउँछन्। पर्याप्त खाना नपाउँदा वृद्धवृद्धा, बालबालिका र अशक्तमा समस्या देखिन थालेको छ। कमजोरीले बालबालिका विद्यालय जान नसक्ने भएका छन्।बेलडाँगी २ सेक्टर ‘डी’ की पवीमाया सुवेदीले १० वर्षीया छोरीलाई तीन दिनअघि पकाएको भात थोरै–थोरै खुवाउँदै गरेको बताइन्। ‘चामल नभएर सागमा झोल हालेर खाइरहेका छौं, छोरीलाई अस्ति पकाएको भात खुवाइरहेकी छु,’ उनले भनिन्।

बेलडाँगी २ सेक्टर ‘बी’ का पशुपति तिम्सिनाको परिवारले पनि पाँच दिनदेखि बिहानको छाक खान पाएको छैन। ७८ वर्षीय पिता पदमलाल र ७४ वर्षीया आमा धनमायासहित आफू बेलुका–बेलुका जाउलो मात्र खाँदै आएको तिम्सिनाले बताए। डब्लुएफपीले वितरण गर्दै आएको न्यूनतम राहतसमेत कटौती भएपछि शरणार्थीले रासन लिन अस्वीकार गर्दै आएका हुन्। यसले गर्दा १० हजार २ सय ६५ भुटानी शरणार्थी बस्दै आएको शिविरमा मानवीय संकट उत्पन्न हुने खतरा बढदै गएको छ।

बेलडाँगी शिविर व्यवस्थापन समितिका सचिव सञ्चहाङ सुब्बाले कटौती भएको राहतको विकल्प नदिएसम्म शिविरमा रासन वितरण गर्न सकिने अवस्था नरहेको बताए। उनले भने, ‘चामल मात्र खाएर बस्न सक्ने अवस्था हुँदैन, कटौती भएको राहतबारे विल्कप दिनुपर्‍यो। हामीले हाम्रो जीवन कसरी बचाउने?’ खान नपुगेर सुब्बाको परिवारले पनि बेलुका एक छाक मात्र खाँदै आएको बताए।

सन् २०१६ जुनअघि शरणार्थीले प्रतिदिन प्रतिव्यक्ति ४ सय ४० ग्राम चामल, ९० ग्राम दाल, २५ ग्राम खाने तेल, २० ग्राम चिनी, १० ग्राम नुन र ३५ ग्राम पोषण पिठो पाउँदै आएका थिए। तर जुन पछि डब्लुएफपीले रासन घटाएर प्रतिशरणार्थी प्रतिदिन ३ सय ३५ ग्राम चामल, ६० ग्राम दाल र २० ग्राम खाने तेल दिन थालेको थियो।

उक्त परिमाणको राहतमा पनि डब्लुएफपीले गत जनवरी २३ तारिखदेखि चामलबाहेक अन्य सबै रासन कटौती गरेपछि शरणार्थीले रासन लिन नमानेका हुन्। उसले ६ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धा तथा अशक्तलाई भने पूर्ण रासन वितरण गर्दै आएको छ। राहत वितरणका लागि शुक्रबार बेलडाँगी शिविरमा लुथरन विश्व फेडेरेसन (एलडब्लुएफ) का दमक प्रमुख डा. शम्भु कट्टेल, शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) का फिल्ड असिस्टेन्ट गंगा सेन, डब्लुएफपीका सागर नेपाल र समिति सचिव सुब्बा सम्मिलित बैठक बसेको थियो।

बैठकमा कटौती भएको राहतबारे कुनै निर्णय हुन नसक्दा रोकिएको रासन वितरण थप अन्योल बनेको छ। बैठकमा एलडब्लुएफ र युएनएचसीआरका प्रतिनिधिले राहत वितरणमा सहयोग गर्न शिविर व्यवस्थापन समितिसमक्ष आग्रह गरेको थियो। डब्लुएफपीले भने दातृ निकायबाटै राहत कटौती भएको बताएको छ।विश्वमा शरणार्थीको संख्या बढदै गएकाले भुटानी शरणार्थीलाई वितरण गरिँदै आएको राहत चरणबद्ध रूपमा कटौती गर्नुपर्ने डब्लुएफपीले जनाएको छ। डब्लुएफपीको दमक कार्यालयका अनुसार आगामी सेप्टेम्बरभित्रमा वितरण हुँदै आएको राहत पूर्णरूपमा कटौती हुनेछ।

परिचयपत्र माग्दै धर्ना
परिचयपत्र माग गर्दै बेलडाँगीका शरणार्थी चार दिनदेखि धर्ना बसेका छन्। विभिन्न कारणले युएनएचसीआरको शरणार्थी प्रमाणीकरणमा छुटेपछि उनीहरूले परिचयपत्र नपाएका हुन्। समितिका अनुसार शरणार्थी प्रमाणीकरणमा १६ सय ४१ जना छुटेका छन्। उनीहरू शिविरमा रहेको युएनएचसीआरको फिल्ड कार्यालयअगाडि धर्ना बसेका छन्। परिचयपत्र नपाउँदासम्म धर्ना जारी राख्ने सनमाया तामाङले बताइन्।



 

समाचार

‘अनुदान अभाव भएकाले कटौती’

- कान्तिपुर संवाददाता

काठमाडौं – राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) नेपालले सन् २०१७ को सुरुवातसँगै नेपालमा रहेका भुटानी शरणार्थीलाई खाद्यान्न सहयोग घटाएको छ। आर्थिक अनुदानको चरम अभावका कारण खाद्यान्नको मात्रा घटाउन बाध्य भएको डब्लूएफपीले जनाएको छ। नेपालमा भुटानी शरणार्थीको संख्या अहिले करिब ११ हजार छ। डब्लूएफपीले शुक्रबार विज्ञप्ति जारी गरी जोखिमपूर्ण अवस्थामा रहेका शरणार्थीका लागि भने खाद्यान्न सहयोगलाई निरन्तरता दिने जनाएको छ।

विज्ञप्तिमा वृद्धवृद्धा, अपांगता भएका व्यक्ति र एकल महिलासहितका बढी जोखिमपूर्ण अवस्थामा रहेका करिब ३ हजार १ सय शरणार्थीका लागि भने पूर्ण मात्राको खाद्यान्न उपलब्ध गराउने उल्लेख छ। डब्लूएफपीकी प्रतिनिधि तथा राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले खाद्यान्नको हिसाबले बढी जोखिमपूर्ण अवस्थामा रहेका शरणार्थीलाई प्राप्त पूर्ण सहयोगलाई निरन्तरता दिने बताएको विज्ञप्तिमा उल्लेख छ।

समाचार

दुर्घटनामा ५ को मृत्यु

- कान्तिपुर संवाददाता

काठमाडौं – ­छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। प्यूठानमा जेसीबी (डोजर) पल्टिँदा तीन तथा पाँचथर र उदयपुरमा थप दुईको मृत्यु भएको हो। प्यूठानको दाङबाङ ­६, कोलबोटमा सडक खन्न गएको जेसीबी भीरबाट खसेको थियो। बिहीबार बेलुकी ९ बजे ना१ख ३३१९ नम्बर जेसीबी दुर्घटना भएको हो। मृत्यु हुनेमा दाङबाङ ६ का २० वर्षीय शेषकान्त आचार्य, १२ वर्षीय ज्ञानेन्दबहादुर गाहामगर र दाङबाङ ­८ का १७ वर्षीय जेसीबी सहचालक दीपक गाहामगर छन्। उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ९ जना घाइते छन्। गम्भीर अवस्थका ६ जनालाई बिहीबार राति नै उपचारका लागि भैरहवा मेडिकल कलेज रूपन्देही लगिएको जिल्ला प्रहरी प्रमुख डीएसपी रञ्जितसिंह राठौरले बताए। ३ जनाको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

जेसीबी सडकबाट ३ सय मिटर तल माडी खोलानजिक खसेको दाङबाङ मावि अमिलीका शिक्षक पूर्णबहादुर गयलमगरले जनाकारी गराए। सडक खनेर दाङबाट अमिलीतर्फ फर्कंदै गर्दा जेसीबी दुर्घटनामा परेको उनले जानकारी दिए। स्थानीयका अनुसार सडक खनेको हेर्न गएका व्यक्ति जेसीबीमा बसेर फर्कंदै थिए।

यसैगरी पूर्वी जिल्लामा भएका बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पाँचथरको रानीगाउँमा मे१त ३६९० नम्बरको ट्रयाक्टर पल्टँदा त्यसमा सवार स्थानीय ५२ वर्षीय भीमप्रसाद गुरुङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, मानबहादुर राई र चालक जयकुमार राई घाइते छन्। यसैगरी उदयपुरको त्रियुगा ११ मा स१च ९९५ नम्बरको पिकअपले ठक्कर दिँदा स्थानीय १० वर्षीय आयुष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

समाचार

टेलिफोनबाटै उद्घाटन

छोटकरी
- कान्तिपुर संवाददाता

धनगढी – राष्ट्रपति विद्यादेवी भण्डारीले धनगढीको शिवनगरमा नमुना खानेपानी योजनाको शुक्रबार टेलिफोनबाटै उद्घाटन गरेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिकूल मौसमका कारण आफू आउन नसकेकाले आयोजनाका अध्यक्ष नारदमुनि रानालाई टेलिफोनबाट उद्घाटनको अनुमति दिएको बताइन्। काठमाडांैबाट राष्ट्रपतिलाई लिएर धनगढीका लागि उडेको हेलिकप्टरलाई मौसमको खराबीले दाङको भालुबाङमा अवतरण गराइएको थियो। राष्ट्रपति भण्डारीले शुक्रबार धनगढीको खानेपानी आयोजनाका साथै कैलालीको बर्दगोरिया महोत्सवको उद्घाटन गर्ने कार्यक्रम थियो।

 

समाचार

२० हजारको नि:शुल्क जाँच

छोटकरी
- कान्तिपुर संवाददाता

काँकडभिट्टा – कांग्रेसको आयोजनामा झापाको मेचीनगर १२ मा सञ्चालित प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सवमा २० हजारभन्दा बढीले नि:शुल्क स्वास्थ्यसेवा लिएका छन्। माघ ८ गतेदेखि सञ्चालित महोत्सवमा २० हजार ७ सय ८५ जनाले नि:शुल्क उपचार सेवा लिएको कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिए। शुक्रबार अन्तिम दिन मात्र ३ हजार ६ सय ३४ जनाले सेवा लिएका थिए। महोत्सवमा स्त्रीरोग विशेषज्ञ सेवा, पाठेघर मुखको क्यान्सर परीक्षण, नसा, मुटु, मधुमेह, मृगौला, कलेजोरोग लगायतको विशेषज्ञ सेवा, जनरल फिजिसियन र आँखाका बिरामीलाई उपचार सेवा दिइएको थियो। शुक्रबार ५ सय १५ जनाले आँखाको उपचार गराउनुका साथै ३ सय २ जनाले रक्त समूह पहिचान गराएको सचिवालय सदस्य खड्गबहादुर धिमालले बताए।

 

समाचार

महिलाको हत्या

छोटकरी
- कान्तिपुर संवाददाता

नुवाकोट– लिखु ४ पुरानोगाउँमा एक महिलाको हत्या भएको छ। स्थानीय मानबहादुर तामाङले बिहीबार राति पत्नी उर्मिलालाई उखुको ठाँठले हानेर हत्या गरेको प्रहरीले जनाएको छ। महिलाको मुख र टाउकोमा चोट देखिएको छ। शव पोस्टमार्टमका लागि त्रिशूली अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाचार

बिरामीलाई सास्ती

छोटकरी
- कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक– प्राधिकरणले प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेको विद्युत् काटेपछि बिरामीले सास्ती खेप्दै आएका छन्। विद्युत्बाट चल्ने मेसिन प्रयोगमा आउन नसक्दा उपचारमा समस्या हुने गरेको छ। केन्द्रका चिकित्सक रविनकुमार घिमिरेका अनुसार महसुल नतिरेकाले प्राधिकरणले विद्युत् काटेको हो। बिजुली अभावमा ईसीजी, सामान्य एक्स–रे र भिडियो एक्स–रे जाँच हुन सकेको छैन। यसले मुटु र दमका बिरामीलाई मर्का परेको केन्द्रले जनाएको छ। बिजुली अभावले डेलिभरी सेवासमेत प्रभावित भएको छ। सुत्केरी गराउन पिस्करबाट आएकी शान्ति थामीले भनिन्, ‘टाढाबाट आउँदा पनि सेवा पाउन सकिनँ।’ केन्द्रमा दैनिक ४०–५० जना बिरामी आउने गरेका छन्। तिब्बती सीमा क्षेत्र र तातोपानीलगायत स्थानबाट आएका बिरामी पनि निजी अस्पतालमा उपचार गराउन बाध्य छन्। ‘केन्द्रमा सोलार जडान गरे पनि बिजुली बाल्न मात्रै पुग्छ, मेसिन चलाउन पुग्दैन,’ बाह्रबिसे केन्द्रका अध्यक्ष उद्धवबहादुर तिवारीले भने, ‘विद्युत् महसुल तिर्न जिल्ला अस्पताललाई अनुरोध गरेका छौं।’ ‘महसुल तिर्न प्रयास गरिरहेका छौं,’ जिल्ला स्वास्थ्य प्रमुख सुरेन्द्र चौरासियाले भने।

समाचार

गाउँमै सरकारी सेवा

छोटकरी
- कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक – स्थानीय प्रशासनको अगुवाइमा थकनी, भोटेचौर, हैबुङ गाविस र मेलम्ची नगरपालिकाका बासिन्दालाई स्थानीय तहमै सरकारी सेवा प्रदान गरिएको छ। जिल्लाका सबैजसो कार्यालयले एकीकृत रूपमा सञ्चालन गरेको उक्त शिविरमा नागरिकता, अपांग परिचयपत्र वितरण गरिएको छ। शिविरमा झन्डै २ हजारले सेवा लिएको कामु प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताए।

समाचार

दुव्र्यवहारको विरोध

छोटकरी
- कान्तिपुर संवाददाता

इटहरी – सुनसरीको तनमुना गाविसका सचिव हरिकुमार थापालाई विप्लव माओवादीका कार्यकर्ता बताउने समूहले बुधबार कार्यकक्षमै कालोमोसो दलेको विरोधमा शुक्रबार जिल्लाभरका गाविस सचिवले विरोध गरेका छन्। उनीहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन्।

समाचार

‘दस दिनभित्रै निकास’

छोटकरी
- कान्तिपुर संवाददाता

नुवाकोट– सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले स्थानीय निर्वाचनबारे सरकारले १० दिनभित्रै निकास निकाल्ने बताएका छन्। ‘स्थानीय निर्वाचनदेखि यावत् समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागेको छ,’ उनले भने। चौथो नुवाकोट उद्योग वाणिज्य संघ उद्घाटन गर्न जिल्ला आएका मन्त्री केसीले शुक्रबार यस्तो धारणा राखेका हुन्। जिल्लाको पूर्वी भेग लिखुलाई गाउँपालिका माग गदै १३ दिनदेखि खानीगाउँ, चौघडा, थानसिङ र सूर्यमतीका स्थानीय आन्दोलनमा छन्। त्यस्तै प्रस्ताव फेरबदल गरिएको भन्दै दक्षिणी भेगका बेलकोटका बासिन्दा पनि शुक्रबार आन्दोलनमा होमिएका छन्।

समाचार

‘प्याकेजमा सहमति’

छोटकरी
- कान्तिपुर संवाददाता

मोरङ – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्याकेजमा सहमति गर्दै निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन लगायतका विषयमा दलहरूबीच प्याकेजमा नै समाधान खोज्नुपर्ने उनले बताए। ‘आफ्नो पार्टी तीनवटै तहको निर्वाचनमा भाग लिने तयारीमा छ,,’ उनले भने,‘संविधान कार्यान्वयनका लागि दलहरूबीच सहमति गरेर तीनवटै तहको निर्वाचन गर्नु अपरिहार्य छ।’ उनले संविधान संशोधनमा दलहरूबीच सहमति नभए निर्वाचनमा जान नसकिने भएकाले पनि प्याकेजमा नै सहमति गरेर अगाडि बढनुपर्ने आवश्यक रहेको बताए।

 

Page 6
विविधा

प्रजातन्त्रको पहरेदार शक्ति

प्रजातन्त्रमा सचेत र जागरुक नागरिकको अहं भूमिका रहन्छ। अनन्त पहरेदारी नै प्रजातन्त्रको मूल्य हो। त्यो अनन्त पहरेदारी सर्वप्रथम नागरिकहरूबाट हुन्छ। सचेत नागरिकहरूबाट।
- डा. केदारभक्त माथेमा

पढ्ने, पढाउने, लेख्ने, साहित्य रचना गर्ने यो समूह माझमा आफूलाई पाउँदा बढो खुसी लागेको छ। तर यही समूहमाझ केही कुरा बोल्नुपर्दा भने छाती ढक्क फुलेर पनि आएको छ। के कुरा गर्ने होला, कुरा कसरी सुरु गर्ने होला...आदि—आदि।

उमेरले गर्दा पनि होला, मनमा धेरै कुरा खेल्छ। रिस पनि उठ्छ। कहिले—कहिले त दिनभरि नै रिस उठिरहन्छ। देशले अहिले पनि गति लिन नसकेको देख्दा, एकदेखि अर्को राजनीतिक झगडामा देश रुमलिएको देख्दा, ब्यापक भ्रष्टाचार देख्दा, दिनहुँ हज्जारौं युवायुवती विदेश पलायन भएको देख्दा, जहाँ पनि माफियाहरूको विगविगी देख्दा, सार्वजनिक संस्थाहरूको गिर्दो अवस्था देख्दा, सम्रगमा देश अस्तब्यस्त देख्दा आदि—आदि।

रिस उठ्ने भनेको पश्चिमी सभ्यतामा सातवटा डरलाग्दो पापमध्ये एउटा मानिन्छ। हाम्रै पूर्वीय संस्कृतिमा पनि रिसलाई निको मानिँदैन। हितोपदेशमा क्रोध लोभबाट सृष्टि हुन्छ भनिएको छ। तर जानेबुझेको एक जनाले भनेको सुनेको थिएँ, दिक्क भएर बस्नुभन्दा त रिस उठ्नु नै ठिक। कमसेकम यसले आफूलाई जीवन्त छु भन्ने अनुभूति त दिन्छ!

समाजमा हुने सामुहिक क्रोधको अभिव्यक्तिले पनि समाज जीवन्त छ भन्ने देखाउँछ। त्यो क्रोध कहिले ठूलो आन्दोलनको रूपमा अभिव्यक्त हुन्छ त कहिलेकाहीँ त भयानक क्रान्ति वा गृहयुद्धमा परिणत हुनपुग्छ र देशलाई अस्तब्यस्त बनाउँछ। जति समाजमा, राष्ट्रमा देखिएको अन्याय, असमानता, भेदभाव, असुरक्षा, कुव्यवस्थालाई नागरिकको दबाब वा क्रियाकलापले राज्यलाई आवश्यक सुधार गर्दै जान बाध्य
पार्छ, उति नै ठूलो आन्दोलन वा गृहकलहबाट राष्ट्रलाई जोगाउन सकिन्छ।

यसैले होला, कैयन राजनीतिशास्त्री बेला—बेलामा हुने नागरिकहरूको स्वत:स्फुर्त ढंगले गरिने क्रियाकलापलाई अति महत्त्वसाथ हेर्छन्। उनीहरू नागरिक समाजबाट हुने गतिविधिलाई प्रजातन्त्र र खुला समाजलाई बलियो पार्ने एक जरुरी साधनका रूपमा लिन्छन्। यसैले प्रजातन्त्रमा सचेत र जागरुक नागरिकको अहं भूमिका रहन्छ। अनन्त पहरेदारी नै प्रजातन्त्रको मूल्य हो। त्यो अनन्त पहरेदारी सर्वप्रथम नागरिकहरूबाट हुन्छ। सचेत नागरिकहरूबाट।

स्कुलको एक प्रमुख दायित्व भनेको केटाकेटीलाई आफ्नो परिवार, समाज, राष्ट्रप्रति विशेष रुचि जगाउनु हो। यसले गर्दा स्कुले जीवनपछि उनीहरू अब्बल र जागरुक नागरिकका रूपमा आफूलाई सक्रिय तुल्याइरहुन्। यो काम स्कुलको सामाजिक दायित्वभित्र पर्छ र यही उद्देश्य प्राप्तिको लागि हरेक देशको स्कुले पाठ्यक्रममा सामाजिक शिक्षा भन्ने विषय राखिएको हुन्छ। यही विषय र खासगरी इतिहास विषयमार्फत स्कुले केटाकेटीलाई राज्यको मूल्य—मान्यताप्रति ढाल्न कोसिस गर्ने गरिएको प्राय: हरेक राज्यमा हामी पाउँछौँ, त्यो साम्यवादी मुलुक होस् वा प्रजातान्त्रिक।

हाम्रो नेपालमा पनि सामाजिक शिक्षा विषय सानो कक्षादेखि १० सम्म पढाइन्छ। तुलनात्मक हिसाबले पाठ्यक्रम सन्तोषजनक मान्नैपर्छ। यत्रो महत्त्वपूर्ण विषयले भने विद्यालय शिक्षामा खासै प्राथमिकता पाएको देखिँदैन। यत्रो चाखलाग्दो विषयको पढाइ भने धेरैजसो स्कुलमा निर्जीव किसिमले गरिन्छ। मानौँ, जाँचमा पास गरेपछि यसको कुनै काम छैन। तथाकथित अंग्रेजी माध्यमको स्कुलमा त यो विषयको पढाइ पनि अंग्रेजीमै हुँदा शिक्षक र विद्यार्थीहरू अनि विद्यार्थी–विद्यार्थीहरूबीच भाषाको कारणले खासै छलफल, संवाद हुनसक्दैन। आफ्नो परिवार, समाज, राज्यव्यवस्था, राष्ट्रवारे पढाइ हुने यो विषयमा विद्यार्थीहरूको रुचि धेरै कम देखिन्छ– यसको स्वच्छ प्रमाण भनेको एसएलसीमा यस विषयमा विद्यार्थीहरूले ल्याउने अंक हो। एसएलसीमा जाँचिने ८ वटा विषयमा औसतमा विद्यार्थीहरूले सबभन्दा कम अंक ल्याउने विषय नै सामाजिक शिक्षा हो।

स्कुल स्तरमा सामाजिक शिक्षाको यसरी लरथरे पढाइ सिध्याएर हाम्रा केटाकेटीहरू ११ र १२ को पढाइतिर लाग्छन्। यहाँ पुगेपछि उनीहरू शिक्षाको एकेक धार पकडी सानै उमेर (१७ र १८) देखि मानविकी, विज्ञान, व्यवस्थापन, शिक्षा अथवा कुनै प्राविधिक विषय लिएर विशिष्टीकरणतिर लाग्छन्। मानविकी र केही हदमा शिक्षा पढ्ने बाहेक अरूले न सामाजिक शिक्षा, न मानविकी र समाज विज्ञानको अध्ययन गर्छन्। वास्तवमा हाम्रो शिक्षा प्रणालीको ठूलो कमजोर पक्ष हो। हामीले स्कुल स्तरमा सामाजिक शिक्षाको कमजोर र अपर्याप्त पढाइ गरी ११ देखि नै विद्यार्थीहरूलाई मानविकी र समाजशास्त्र (लिवरल आर्टस) को पढाइ नै नगरी एकैचोटी एक धारमा विशिष्टीकरणतिर धकेलिदिन्छौँ। यसले गर्दा हाम्रा उच्चशिक्षा हासिल गरेका युवायुवतीले जो मानवीय ज्ञान, आदर्श, संवेदनशीलता प्राप्त र विकास गर्नुपर्ने हो, त्यो नगरी आफूले अध्ययन गरेका विषयमा मात्र आफ्नो चाखलाई सीमित राख्ने हुन्छन्। उनीहरू मध्यमवर्गीय मूल्य र मान्यतालाई अंगीकार गर्न पुग्छन् र मानवीय जीवनसँग सम्बन्धित ब्यापक सवालसित खासै रुचि राख्दैनन्। उनीहरूमा कुनै बौद्धिक र नैतिक जिज्ञासा पनि पलाउँदैन। पछि उनीहरू हाकिमको निर्देशनअनुसार काम गर्ने एक किसिमको असल र आज्ञाकारी कर्मचारी हुनसके पनि सचेत नागरिकको भूमिका निर्वाह गर्न भने उनीहरू त्यति सक्षम हुँदैनन्।

यी त मैले पाठ्यक्रमको कुरा गरेँ। अब कुरा गरौँ शिक्षण तथा सिकाइ विधिको। हामीले हाम्रो स्कुल र विश्वविद्यालयमा अपनाउँदै आएको शिक्षण विधिले पनि जागरुक र सक्रिय नागरिक पैदा गर्न खासै मद्दत गर्दैनन् भन्ने लाग्छ। हामीकहाँ प्रचलित शिक्षण विधि एकदमै एकतर्फी छ– शिक्षक तथा प्राध्यापकहरू भट्टयाउँछन्, विद्यार्थीहरू सुन्छन् र नोट टिप्छन्। जाँचमा जसले हुबहु नोटमा टिपेका कुरा कापीमा लेख्न सक्षम हुन्छन्, उनीहरू नै सबैभन्दा बढी अंकसहित उत्तीर्ण हुन्छन्। सोच्ने, प्रश्न गर्ने, शिक्षकले राखेको वा पुस्तकमा प्रस्तुत कुरालाई विश्लेषण गर्ने वा टिप्पणी गर्ने वा पृथक सोच राख्ने कुरा त हामी विद्यार्थीलाई सिकाउँदै सिकाउँदैनौँ। अझ समाजका जीवन्त समस्याहरूको समाधान खोज्ने र नौलो कुरा गर्ने वा भन्ने त हामी विद्यार्थीहरूलाई सिकाउने भन्ने त सोच्नै सक्दैनौँ।

हाम्रो शिक्षण विधिले हाम्रा केटाकेटी, युवायुवतीलाई विलकुल निष्क्रिय सिकारुको रूपमा परिणत गर्छ। यस विधिले शिक्षकलाई सबै कुरा थाहा छ, विद्यार्थीलाई केही पनि थाहा छैन भन्ने मान्यता राख्छ। वास्तवमा शिक्षक तथा पाठ्यपुस्तकले प्रभुत्व जमाइरहेका संस्कृति तथा ज्ञानलाई कसरी प्रस्तुत गर्छ, त्यसको समर्थन वा अस्वीकार गर्ने एक महत्त्वपूर्ण स्थल हो, कक्षाकोठा। यसै कारणले कक्षाकोठा त शिक्षक र विद्यार्थी अथवा विद्यार्थी—विद्यार्थी बीचको छलफलले एउटा सशक्त, फुर्तिलो र जोशिलो वातावरण हुने स्थल हो। हामीले कक्षाकोठालाई एउटा प्रजातान्त्रिक अनुभव बटुल्ने ठाउँ नबनाई निरंकुश हिसाबले ज्ञान हस्तान्तरण गर्ने ठाउँमात्र बनाइरहेका छौँ। यसले हाम्रा युवायुवतीमा आफ्ना अघिल्तिर भइरहेका घटनालाई गहिरिएर नियाल्न र विश्लेषण गर्न कठिनाइ पैदा गरिदिएको छ। उनीहरूमा जे देखिएको छ, त्यसलाई स्वीकार्ने, त्यसको विकल्पको सम्भावनालाई नसोच्ने वा खोजी नगर्ने बानी गाढा बनाइदिन्छ। पछि प्रौढ अवस्थामा पुगेपछि पनि उनीहरूलाई केही कुरा न्यायोचित र मनासिव नलागे पनि अघि सरेर प्रश्न गर्ने आँट हुँदैन।

मलाई कहिलेकाहीं लाग्छ, सायद यही शिक्षा पद्धतिको कारणले गर्दा होला, केही समयदेखि यता राज्यबाट गरिएको स्वीकार्नै नसकिने कार्य र गतिविधिप्रति हामीले खासै विरोध वा चासो नदेखाई टुलुटुलु हेरिरहेछौं। मानौँ, हामीले राज्यसँग स्कुलका शिक्षक तथा विश्वविद्यालयका प्राध्यापकहरूसित झैं विमति राख्न मिल्दैन।

केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निक्कै प्रचारसाथ पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीहरूलाई भ्रष्टाचारको आरोपमा थुनामा राख्दा कसैले बोलेनन्। यसमाथि प्रश्न पनि गर्न हिम्मत गरेनन्। बरु अख्तियारकै प्रोपोगान्डालाई हुबहु स्वीकार गरे। दोषी प्रमाणित नभइसकेका उपकुलपतिहरूलाई कापी र कलमसमेत राख्न नदिई अख्तियारको अँध्यारो कोठामा बन्दी बनाइराख्दा अधिकारकर्मीहरू समेत मौन बसे। प्राध्यापक, प्राध्यापक संघहरू चुइँक्क पनि बोलेनन्। अचम्म त के छ भने उपकुलपतिमध्ये एकजना १८ वर्ष प्राध्यापक संघको अध्यक्ष लगायत अरू पदमा सक्रिय हुनुहुन्थ्यो। पछि विशेष अदालतले उहाँहरूलाई सफाइ दिँदा त्यसको पनि खासै चर्चा भएन। यी सब कुरालाई हामीले कसरी बुझ्ने?

फेरि केही समयअघि अख्तियारले नै काठमाडौं विश्वविद्यालय परिसरभित्र कुनै अग्रिम अनुमति नलिई प्रवेश गरी चिकित्सक शिक्षाको प्रवेश परीक्षा आफ्नै हातमा लिई सञ्चालन गर्दासमेत विश्वविद्यालय पदाधिकारीहरू लगायत प्राध्यापकहरूले कुनै आपत्ति जनाएनन्। पदाधिकारीहरूले त्यसको बचाउ गरे भने प्राध्यापकहरूले मौन समर्थनमा आफूलाई राखे। साधारणत: के पढाउने, कसरी पढाउने र पढाएको कुरालाई कसरी जाँच्ने भन्ने कुरा विश्वविद्यालयहरूको आफ्नो अधिकार क्षेत्रभित्रको कुरा हो। यसलाई प्राज्ञिक स्वतन्त्रता भित्रको महत्त्वपूर्ण अंग मानिन्छ र यो हक रक्षाका लागि विश्वविद्यालयहरू– नेतृत्व स्थानमा बसेका र प्राध्यापनमा लागेका दुवै सदैव चनाखो रहने गर्छन्। जुन विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रतामाथि अन्य बाह्य निकायबाट बारम्बार हस्तक्षेप भइरहन्छ, त्यस विश्वविद्यालयको गुणस्तरमा नकारात्मक असर पर्नजाने कुरामा सबै शिक्षाविदको एकमत छ। यही परिप्रेक्ष्यमा विश्वविद्यालयको आन्तरिक मामिलामा अख्तियारको यस्तो घोर आपत्तिजनक हस्तक्षेपप्रति प्राज्ञिक जगत मौन रहनुलाई हामीले कसरी बुझ्ने?

पञ्चायती शासनको कालरात्रिमा पनि विश्वविद्यालय परिसरभित्र क्याम्पस प्रमुखको कुनै अनुमतिबेगर प्रहरी प्रवेश गर्दा त्यसबखतका प्राध्यापकहरूले कडा विरोध जनाइ वक्तव्यसमेत निकालेका थिए। र त्यस प्रकरणमा बीसी मल्ल, सहाना प्रधान, अर्जुननरसिंह केसी, हिरण्यलाल श्रेष्ठ लगायत दुई दर्जन प्राध्यापकहरूलाई सेवाबाटै बर्खास्त गरिएको थियो। विगतको यो इतिहास सम्झँदा हाल प्रजातान्त्रिक व्यवस्थामा पनि प्राज्ञिक जगतको यस्तो निर्बल अवस्था देख्दा हामीले कसरी चित्त बुझाउने?

अहिले सबैजसो विश्वविद्यालयमा नाङ्गो राजनीतिक हस्तक्षेप भइरहेको छ। तीन प्रमुख दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले विश्वविद्यालयका सबै पदको भागबन्डा गरी तिनमा योग्यताको आधारमा भन्दा आफ्नो पार्टीसितको निकटताको आधारमा भर्ती गरिरहेका छन्। यस्तो व्यवस्थाले गर्दा राम्रा, योग्य प्राज्ञिक व्यक्तिहरू स्वभावले नै पाखा लाग्ने नै भए। कति योग्य प्राध्यापकले यी सबै देख्न र खप्न नसकी स्वेच्छाले विश्वविद्यालय सेवाबाट अवकाश लिएको पनि धेरै उदाहरण छन्। कमजोर योग्यता भएका तर नेता तथा छोटे नेताहरूसित हिमचिम भएका कारणले नै विश्वविद्यालय र ती अन्तर्गतका निकायहरूको नेतृत्वदायी स्थानमा पुग्न सफल भइरहेका छन्।

भागबन्डाको संस्कृति २०४६ सालको जनआन्दोलनपछि आएको हो। संक्रमणकाल भनेर त्यसबखत कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चाबीच त्रिविको नेतृत्व पदहरू भाग लगाएर चलाउने सहमति भएअनुसार प्रमुख पदहरूमा आआफ्ना पार्टीले विश्वास गरेका मानिसहरूलाई राख्न थालियो। पछि २०४७ सालको संविधान बन्यो र त्यसपछिको पहिलो निर्वाचनबाट नेपाली कांग्रेसको बहुमतको सरकार बन्यो। त्यस सरकारले मलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नेतृत्व लिन आग्रह गरेपछि मैले पनि प्रधानमन्त्रीलाई कसैको झण्डा लिएर नजाने कुरामा मञ्जुर गराएपछि मात्र त्रिविको नेतृत्व लिन तत्पर भएको थिएँ। पछि त्रिविको केही पदमा भागबन्डा गर्नुपर्‍यो भनी केही प्राध्यापक साथीहरूको दबाब पनि मलाई आयो। तर त्यसो नगर्न म अडिग भएँ। भागबन्डाको संस्कृति दोस्रो जनआन्दोलनपछि झन् ठूलो रूपमा आयो र अहिले पनि त्यो अभ्यास जारी छ। आजकाल त विश्वविद्यालयको तलतलका पदहरूमा समेत भागबन्डा नै लागु भएको देखिन्छ, योग्यता प्रणाली होइन।

भागबन्डाको एउटै फाइदा भनेको यसले सहभागी दलहरूसँग आबद्ध कथित विद्यार्थी युनियनहरूले क्याम्पसहरूमा बारम्बार गर्ने उच्छृङखल गतिविधिहरूमा कमी ल्याउनु देखिएको छ। तर यो व्यवस्थामा न उपकुलपतिले आफ्नो टिम बनाउन सक्छ, नत विश्वविद्यालयले योग्यताको आधारमा उत्कृष्टहरूलाई चयन गर्न सक्छ। संसारको विख्यात विश्वविद्यालयहरूले योग्य व्यक्तिको खोजी गर्ने क्रममा विश्वभरकै योग्य मानिसहरूको सूचीबाट चयन गर्छ। हाम्रोमा भने नेपाली भएर मात्र पुग्दैन। जसको भागमा कोटा परेको छ, त्यो पार्टीको वा नेताको नजिकको व्यक्ति हुनुपर्छ। अझ कुनै पार्टीभित्रको पनि खेमाको भागमा परेको छ भने त त्यही खेमाकै नजिकको व्यक्ति चाहियो† यसले सम्भावित उम्मेदवारहरूको सूचीलाई नै खुम्च्याइदिन्छ।

यसै सन्दर्भमा एउटा ऐतिहासिक घटनाबारे पढेको याद आउँछ। सन् १९२१ तिर जब कलकत्ता विश्वविद्यालयको उपकुलपति आशुतोष मुखर्जीले डा. सर्वपल्ली राधाकृष्णननलाई नियुक्ति दिने बेला केही बङ्गालीले मद्रासीको ठाउँमा बङ्गालीलाई नै चयन गर्नुपर्छ भन्ने माग गरे। त्यसबखत उपकुलपति मुखर्जीले यस्तो जवाफ दिएका थिए रे– ‘म एक बङ्गालीलाई एउटा पदबाट बञ्चित गर्न सक्छु। तर हज्जारौँ बङ्गालीलाई डा. राधाकृष्णनन जस्तोको विद्वताबाट बञ्चित गर्न सक्दिन।’ चरम राजनीतिको कारण विश्वविद्यालयको प्राज्ञिक अवस्था खस्किँदो छ। त्यसको ज्वलन्त उदाहरण भनेको कैयन विषयमा विद्यार्थी भर्नामा आएको भारी गिरावट हो। साथै हाम्रा विश्वविद्यालयहरूले बाहिर राम्रो विश्वविद्यालयहरूमा पढिआएका युवालाई आफ्नो प्राध्यापन सेवामा आकर्षित गर्न सकिरहेका छैनन्।

विश्वविद्यालयको एउटा चुनौती भनेको कसरी देशकै (सकिन्छ भने विश्वकै) सबैभन्दा राम्रा मानिसहरूलाई आफ्नो फ्याकल्टीमा आकर्षित गर्नु हो। विश्वविद्यालयको दोस्रो चुनौती भनेको कसरी त्यस्ता मानिसहरूलाई आफ्नो सेवामा टिकाइराख्ने भन्ने हो। किनभने उनीहरूलाई बाहिर अझ बढी आकर्षक सुविधा वा पारिश्रमिक दिइन्छ। तेस्रो चुनौती भनेको त्यस्ता राम्रा प्राध्यापकहरूले अवकाश पाएपछि उनीहरू जत्तिकै वा उनीहरूभन्दा पनि बढी योग्य मानिसहरूलाई कसरी आफ्नो सेवामा आकर्षित गर्ने भन्ने हो। हाम्रो नेपालको जेठो त्रिभुवन विश्वविद्यालयलाई अहिले तेस्रो चुनौतीले सबैभन्दा बढी सताइरहेको छ। एक जमानामा कमलप्रकाश मल्ल, प्रयागराज शर्मा, ध्रुवमान अमात्य, रामप्रसाद राजबाहकले प्राध्यापन गर्ने स्थानमा उनीहरूकै समकक्ष वा उनीहरूभन्दा माथिका प्राध्यापकहरूलाई आकर्षित गर्न त्रिविलाई हम्मेहम्मे भइराखेको छ।

यही अवस्था देखेर अष्ट्रेलियन एडको सहयोगार्थ एसियाली विकास बैंकको नेपाल, श्रीलंका र बंगलादेशको उच्चशिक्षा सम्बन्धी एक प्रतिवेदनले आफ्नो सुझावको एक नम्बरमा विश्वविद्यालयहरूबाट राजनीति हटाउनुपर्ने कुरामा जोड दिएको छ। उक्त प्रतिवेदनमा हरेक राष्ट्रले कमसेकम एक उत्कृष्ट विश्वविद्यालय (फ्ल्यागसिप युनिभर्सिटी) स्थापना गर्नुपर्ने कुरा पनि औंल्याइएको छ। तर यी सब कुरा कसले सुन्ने? कसलाई सुनाउने?
चरम राजनीतिक चलखेलले पनि होला, धेरैजसो प्राध्यापकमा विश्वविद्यालयप्रति अपनत्वको भावना देखिँदैन। त्यसैले गर्दा आफूले अध्यापन गर्ने विषयमा विद्यार्थी न्युन हुनजाँदा समेत प्राध्यापकहरू आफ्नो विभागमा विद्यार्थीहरू आकर्षित गर्न खासै प्रयत्नशील भएको भेटिँदैनन्। त्यसैले गर्दा प्राध्यापकहरू र उनीहरूका संघहरू केही बोल्दैनन्। सायद बोल्न पनि आवश्यक ठान्दैनन् होला। कतिलाई विश्वविद्यालयलाई यही अस्तब्यस्त स्थितिमा रहँदा निर्धक्क भएर आफ्नो परामर्श सेवा (कन्सलटेन्सी) गर्न, अर्को थप व्यवसाय गर्न सजिलो भइराखेको होला। कतिपय प्राध्यापकले त आफ्नो काम प्राध्यापन र अनुसन्धान गर्नुमात्र ठानेका होलान्। तर उनीहरूले के बुझ्न आवश्यक छ भने यदि उनीहरू राष्ट्रको बृहत स्वार्थमा नबोले आफैँ विस्तारै पाखा लागी कुनै दिन असान्दर्भिक हुन पुग्नेछन्।

राजनेताहरू जो राष्ट्रियताको शंख फुक्न कहिल्यै थाकेका देखिँदैनन्, तर विश्वविद्यालय जस्तो राष्ट्रको धरोहर संस्थालाई राजनीतिको दलदलमा फँसाएर धराशायी गराएर राष्ट्र कमजोर हुँदै गएको कसरी महसुस गर्न सक्दैनन्? नेपालको लागि उच्च जनशक्ति तयार पार्ने जिम्मेवारी पाएका विश्वविद्यालय जस्ता संस्थाहरू कमजोर हुनजाँदा राष्ट्रले कति घाटा ब्यहोर्नुपर्छ भन्नेबारे लेखाजोखा गर्नै सकिन्न।


साहित्यकार, लेखक, स्तम्भकार, हास्यव्यंग्यकार, कार्टुनिष्टहरूले बारम्बार देशले, समाजले भोगिरहेको अवस्थाबारे आआफ्नो माध्यमद्वारा बोल्ने गर्छन्। यसले आम जनमानसलाई समस्याबारे समयमै सुसूचित गराउँछ। तर यो बुझाइ एकैपटक पूर्ण हुँदैन। बीसौं शताब्दीका विख्यात शिक्षा दार्शनिक पाउलो फ्रेरिइले (सन् १९७३) चेतनालाई तीन तहमा राख्छन्। चेतनाको पहिलो तहमा समस्याबारे व्यक्तिलाई बोध हुन्छ, तर समस्याको समाधानमा केही गर्न सक्छु भन्ने आत्मविश्वास हुँदैन। चेतनाको दोस्रो तहमा उसले समस्यालाई केही बुझे पनि पूर्णरूपले भने बुझेको हुँदैन। तर पनि परिवर्तन ल्याउन सकिन्छ भन्ने अनुभूति नै उसमा हुन्छ। तेस्रो तहमा व्यक्तिले समस्यालाई यसको ऐतिहासिक पृष्ठभूमिसँग जोडेर हेर्छ र वर्तमान अवस्थाको सन्दर्भमा ल्याएर बुझ्छ। यहाँ उसलाई परिवर्तन ल्याउन सकिन्छ भन्ने पूर्णविश्वास हुन्छ।


समस्याको बोध गराउनु मात्र होइन, त्यसलाई परिवर्तन गर्नसक्ने आँट पनि जनमानसमा पैदा गर्न राजनेता, समाजका अगुवाहरू बाहेक साहित्यकार, लेखक, स्तम्भकार, मिडियाकर्मीको ठूलो भूमिका रहन्छ। तर यसमा पनि अग्रणी भूमिका त शिक्षक/प्राध्यापकहरूकै हुन्छ। उनीहरूले के पढाउँछन्, कसरी पढाउँछन्, पढाएको कुरालाई त्यसको ऐतिहासिक पृष्ठभूमिसित कसरी जोड्छन्, अहिलेको समाज र विद्यार्थीको दैनिकीसित कसरी गाँस्छन्, विद्यार्थीलाई चिन्तन–मनन र समस्यालाई ओल्टाइ—पल्टाइ गरेर हेर्न कति प्रेरित गर्न सक्छन् र कसरी हस्तान्तरित हुँदै आएको ज्ञानलाई सोझै स्वीकार नगरी त्यसमा प्रश्नहरू उठाउन सिकाउँछन्। यी सबैले हामीले भोलि कस्तो नागरिक पाउँछौं भन्ने कुरा निर्धारण गर्छ।
यदि हाम्रा विश्वविद्यालयहरूबाट निक्लने युवायुवती निर्भीक, सचेत, सार्वजनिक भलाइका लागि लागिपर्ने, समस्यासित जुध्ने खालका छन् भने हाम्रो प्रजातन्त्र पनि मजबुत हुँदै जान्छ र हामी एउटा जनताप्रति साँच्चिकै उत्तरदायी व्यवस्थाको छिट्टै कल्पना गर्न सक्छौँ। तर होइन, हाम्रा युवायुवती समस्यादेखि भाग्ने, लागिनपर्ने, आफूलाई भए पुग्यो भन्ने र सार्वजनिक भलाइको काम पन्छाइ हिँड्ने खालका छन् भने हाम्रो प्रजातन्त्र केही राजनीतिक दलका ठूला नेताहरू र शक्तिकेन्द्रहरूको हालीमुहालीमा निरन्तर रुमलिरहन्छ र यस्तो व्यवस्थालाई परिवर्तन गर्न अर्को कुनै दिन ठूलै कसरत चाहिने हुन्छ।


मैले मेरो प्रस्तुतिको सुरुवातमा नै रिस र रिस उठ्ने विषय उठाएको थिएँ। अब अन्त्यमा पनि रिस सम्बन्धमा एउटा भनाइबाट बिट मार्छु। तर कुराचाहिँ मेरो नभई पौराणिक कालका युनानी दार्शनिक सुकरातको हो। सुकरात भन्छन्, ‘जोकोही पनि रिसाउन त सक्छ– त्यो त सजिलो कुरा हो। तर ठिक व्यक्तिसित ठिक मात्रामा ठिक समयमा ठिक उद्देश्यका लागि र ठिक तरिकाले रिसाउने भन्नेचाहिँ सबैले गर्न सक्ने कुरा होइन। त्यो सजिलो पनि छैन।’
(शक्षाविद् माथेमाले शुक्रबार पोखरामा सुरु भएको नेपाल लिटरेचर फेस्टिबलमा दिनुभएको ‘किनोट स्पिच’)

विविधा

मस्त जवानी गुप्तरोग

- विमल निभा

झापाको काँकडभित्ता नगरीको एक स्वास्थ्य शिविरमा नेपाली साहित्यका दुई दिग्गज साहित्यकारहरूले स्वास्थ्यसम्बन्धी तगडा साहित्यिक प्रवचन दिएका छन्। यसको फलस्वरूप तमाम डाक्टरहरूसमेत दंग परेका छन्।चाहे त्यो मेडिकलधर्मी डाक्टर होस् अथवा साहित्यकै डाक्टर नै किन नहोस् ! यी दुई अदत साहित्यकारहरूमध्ये प्राध्यापक अभि सुवेदी आफैं एक साहित्यका खाँट्टी डाक्टर हुन्। र अर्का साहित्यकार खगेन्द्र संग्रौला स्वयम्मा डाक्टर नभए पनि कुनै डाक्टरभन्दा अलिकति पनि कम छैनन्। उनले दिएको साहित्यिक इन्जेक्सन असाध्यै घोचक हुने गरेको छ। अब त्यसमा औषधि भरिएको छ या छैन, यो अर्काे कुरो हो।

मलाई झापाली स्वास्थ्य महोत्सवको राजनीतिक संयोजक विश्वप्रकाश शर्माले साहित्यिक स्वास्थ्य शिविरमा विलकुलै आमन्त्रित गरेनन्। के यो कवि विमल निभा कुनै अस्वस्थ प्रकारको साहित्यकार हो र? हुन त नेपाली साहित्यका प्राधिकारवादी प्राचार्य, प्रतिभाहीन प्राज्ञ र प्राविधिक समालोचकहरू मेरो व्यंग्य साहित्यलाई मूलत: साहित्य मान्न नै तयार छैनन्। यस्तोमा मैले साहित्यकारद्वय अभि सुवेदी र खगेन्द्र संग्रौलासरह के स्वस्थ र अस्वस्थ साहित्यको घाघडान बहस गर्ने? त्यसकारण म त्यतातिर नगएर केवल मलाई मनपर्ने साहित्यिक चरित्रका दुई स्वस्थ पात्रको याद गर्ने प्रयास गर्नेछु।

यो अहिलेको नभएर उहिलेको मेरो नगर नभइसकेको नगर वीरगन्जको याद हो भने पनि हुन्छ। अर्थात मेरो किशोर कालको प्रिय नगर वीरगन्जको भन्नोस्। त्यसबखत वीरगन्जमा एक पर्याप्त स्वस्थ कवि थिए– रमन्ना पहलमान। याने रामनारायण कुर्मी, दुई नम्बर रोड, रेशमकोठी, वीरगन्ज। एक पूर्णकालिक कुस्तीवाज पनि कवि हुनसक्छ भनेर प्रख्याति थियो, उनको। पहलमान सखारै बिछ्यौनाबाट जुरुक्क उठ्थे, त्यसपछि कुनै चलनचल्तीको सवैया अथवा दोहा गुनगुनाएर कसरत गर्न थाल्थे। जस्तै— दण्डपेल, मुगदर घुमाइ, डोरीकुद, उठक बैठक इत्यादि। अनि आखिरीमा मनमनै कुनै प्राइभेट कविताको श्लोक गुनेर चार–पाँच सेर दूध घटघट पिउँथे। यो विशुद्ध गाईको दूध हुन्थ्यो। कोही–कोही बकरीको दूध पनि भन्थे। उनको आँगनमा बाँधिएको बकरीको धारोष्ण दूध। यसबारे कसैले सोधेमा पहलमान मुसुमुसु मुस्कुराइरहन्थे। तर बेलुकीपखको स्वास्थ्य कार्यक्रममा भने केही मौलिक खालको परिवर्तन हुन्थ्यो। उनी अखडाबाट सोझै गएर दूध–सुधको साटो स्थानीय ताडी लिन रुचाउँथे। साँझको ताडी अमिलो हुन्थ्यो। यसको नशा चढेपछि पहलमान कवि अरूमाथि बेसरी जाइलाग्थे। यसबखत हनुमान चालिसाको अशुद्ध पाठ गर्नचाहिँं पटक्कै बिर्संदैनथे। यो नियमित मारपिटको कार्यक्रम थियो। यसमा नभएर ताडी सेवनमा कहिलेकाहीं उनलाई हाम्रो त्रिजुद्ध बहुउद्देश्यीय इंगलिस हाइस्कुलमा ‘साहित्य–सुषमा’ पढाउने गुरु भवनाथ पण्डितजीको पनि आत्मीय साथ हुन्थ्यो। सम्भवत: यसैले एक बिहान कवि रमन्ना पहलमान स्कुलको सरस्वती पूजामा कविता सुनाउन प्रमुख अतिथिको रूपमा सादर उपस्थित थिए। त्यसबखत उनले भारीभरकम शरीर लयपूर्वक फिरफिर हल्लाएर स्वनिर्मित कविता सुनाए।

‘खडखड–खडखड
सग्गड चलेला
बडबड–बडबड
हमरा मेहरारु
खनखन–खनखन
रुपैयाँ चलेला
घटघट–घटघट
महुवाके दारु।’
(लामो कविताको एक अंश)
यस्तै मेरो टोल अलखियारोडका युनानी डाक्टर भवरमल सेवक, एच.एच.डी. एल.एम.सी.पी.आर.जेड.एम. आयुर्वेदाचार्य, तन्त्राचार्य, साहित्याचार्य पनि समान रूपले स्मरणीय रहेका छन्। पहिलेका झोलाछाप डाक्टर मुख्यत: युनानी पद्धतिका डाक्टर भए पनि आयुर्वेदको गुलियो पाचक आदिको पनि बेजोड जानकार थिए। यसका साथै तन्त्रमन्त्रद्वारा रोगीहरूका रोग निवारण गर्नमा अटुट लागिरहन्थे। त्यसताका डाक्टरसाबले मध्यरात सिर्सिया नदीको किनारमा गई घन्टौं तन्त्रसिद्धि गर्ने गरेको अद्भुत किस्सा व्यापक प्रचलित थियो। डाक्टर भवरमल सेवकले आयुर्वेद र तन्त्रमन्त्रको फरक–फरक शैली चिकित्सामा अपनाए पनि साहित्यको क्षेत्रमा भने एकनिष्ठ थिए। ससाना यौनकथाहरूमा रचना गर्ने गर्थे। एउटा सवा सय पृष्ठको मोटो उपन्यास पनि प्रकाशित थियो– मस्त जवानी गुप्तरोग। यस प्रकार डाक्टरसाबले साहित्यलाई चिकित्सासँग सफलतापूर्वक जोडेका थिए। यो उपन्यास गुप्त रोगग्रस्त नायिकाको सम्पूर्ण उपचारमा आधारित थियो। नायक स्वयं डाक्टरसाब नै थिए। तर नायिकाको उपचारमा उनले जुन पद्धतिको प्रयोग गरेका थिए, त्यो डाक्टरीको नभएर अन्य थियो। त्यसैले उपन्यासले अन्य खालकै मजा दिन्थ्यो। खास मजा। गुप्त मजा। यही उपन्यासको सार थियो। जे होस्, स्वास्थ्य र साहित्यका संयुक्त व्यक्तित्व डाक्टरसाबको ‘सेवक’ साहित्यिक उपनाम थियो भने उनको नाममा झुन्डिएको एच.एच.डी.एल.एम.सी.पी.आर.जेड.एम.को रहस्य कहिल्यै खुलेन।

वास्तवमा स्वस्थ साहित्य विषयक मेरो घोर विचारहीनताका कारण मैले यस्तो संस्मरणको शरण लिनुपरेको हो। कदाचित यसबारे मेरो कुनै विचार भए पनि त्यो अग्रज साहित्यकार अभि सुवेदी र खगेन्द्र संग्रौलासँग मिल्ने कुनै सम्भावना छैन। हो, कुनै पनि साहित्यिक कार्यक्रम पश्चातको अनिवार्य तरल टाइप कुरोमा भने हाम्रो कुनै न कुनै ढंगको मिलेमतो हुनसक्छ। असलमा भएकै पनि छ। खासमा साहित्यकार खगेन्द्र संग्रौलासँग। याद गर्नाेस्, कतारको राजधानी दोहाको हाम्रो साहित्यिक भ्रमण। के त्यो कम्ता तरल थियो त खगेन्द्र दाइ? अँ, अर्का साहित्यकार अभि सुवेदी सरसँग मेरो यस्तो छताछुल्ल विचारको विशिष्ट आदान–प्रदान हालसम्म नभइसकेकाले अरू केही नभनूँ !

Page 7
विशेष रिपोर्ट

नेपाल हेर्ने चिनियाँ आँखा

खास पर्यटकीय गन्तव्यका रूपमा अहिले विकास भइरहेको तिब्बतमा पहिलो चरणमा अन्य चिनियाँहरू लैजान थालिएको छ, जुन आफैंमा पनि ठूलै कुरा मानिन्छ। जब चीन तिब्बत मामिलामा आफूभित्रै त्यति धेरै संवेदनशील छ, ढोकैमा रहेको नेपालसँग उसले किन त्यस्तो अपेक्षा नगरोस्।
- संजीव गिरी

बेइजिङबाट फर्केर-बेइजिङको सिल्क मार्केटबाट स्यानलिटनतर्फ जाने बाटोमै हु ज्याङ्वेको अफिस छ। उमेरले ६० नाघेका उनी चाइना पब्लिक डिप्लोमेसी एसोसिएसनका उपाध्यक्ष हुन्। सिल्क मार्केट भनिने उनको अफिस भएको क्षेत्र कर्पोरेट हाउसहरू, तारेहोटल, सपिङ मल, कूटनीतिक आवास क्षेत्र र फराकिला बाटोहरूबीच छ। त्यहाँबाट झन्डै आधा घन्टाको हिंँडाइमा बेइजिङको अर्को प्रमुख क्षेत्र हो— स्यानलिटन। ज्याङवे र यी दुवै ‘कम्समोपोलिटन जङ्कसन’ बाह्य जगतलाई रोकेर गरिएको चीनको सांस्कृतिक क्रान्तिदेखि बाहिर निस्किन खोजिएको सी चिनफिङको समयका साक्षी हुन्। 

ज्याङ्वेलाई भेट्नुभन्दा अघि पनि दर्जनौंपटक म सिल्क मार्केट र स्यानलिटनमा टहलिन पुगेको थिएंँ। अमेरिका र युरोपका लागि दिनहुँ छुट्ने दर्जनौं ननस्टप फ्लाइट पक्रँदै छुट्टीका गन्तव्य बनाउने पुस्ताहरू ज्यादा भेटिने यी ठाउँहरूमा टुटफुट नै सही, अन्यत्रभन्दा फरक, अंग्रेजीले काम चलाउन सकिन्छ। त्यो खुलापनसँगै हुर्किरहेको चिनियाँ समाजको झल्को हो। बरु छिमेकको काठमाडौं आवत—जावत गर्न चीनभित्रै वा बाहिर ट्रान्जिटमा उत्रनुको विकल्प छैन। दिन—प्रतिदिन झन् बढी खुलापन अंँगालिरहेको चीन नेपालसँग नजिकिंँदो छ वा टाढिँंदो छ? एक वाक्यमै उत्तर दिन ज्याङ्वेलाई गाह्रो छ। तर उत्तर बनाउने जिम्मा मतिरै छाडेर उनले एउटा पुरानो किस्सा सुनाए। आफ्नो बाल्यकालमा चीन–नेपालको झण्डा फहराउँंदै बेइजिङ एयरपोर्टमा राजा महेन्द्रलाई स्वागत गर्न पुग्नेमध्ये उनी पनि एक रहेछन्। ग्रिनटीको चुस्कीसाथ पुराना दिन सम्झेर उनी उत्साहित बने, ‘टेलिभिजनले यति धेरै नेपाली राजाको भ्रमणलाई कभरेज गरेको थियो कि हामी थुप्रैमाझ नेपालमात्र होइन, राजाको नाम नै सजिलै मुखमा झुन्डिएको थियो।’

त्यो त्यस्तो समय थियो, जतिखेर चीनको ढोका विश्वको लागि बन्द थियो र संसारले समेत उसलाई सक्दो एक्ल्याउन खोजेको थियो। तर ज्याङ्वेकै शब्दमा नेपालसँगको चीनको तत्कालीन सम्बन्ध भने बाह्य जगतसँग जोड्ने सेतुको रूपमा थियो। आधा शताब्दीमा परिवेश पुरै फेरिएको छ। उत्तिकै फेरिएका छन्, चीनका प्राथमिकता, शैली र लक्ष्यहरू। म जान्न चाहिरहेको थिएंँ, ‘बाल्यकालमा ज्याङ्वेले जसरी आफ्नो मानसपटलमा नेपालको चित्र देखे, के त्यसरी नै उनको नाति पुस्ताले हेरिरहेको छ?’

१० महिने चीन बसाइमा म थुप्रैपटक ब्लुरुम भनिने चिनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलन कक्ष पुग्थेंँ। जहाँ बेलाबखत नेपालको प्रसंगै नउठ्ने त होइन, तर धेरैजसो अमेरिका, रसिया, जापान, दक्षिणी चिनियाँ सागर, कोरियन प्रायद्विप, संयुक्त राष्ट्र संघकै कुराले कब्जा जमाउँंथ्यो। त्यसरी हुने प्रश्नोत्तरको दायरा नै अहिलेको चिनियाँ रडारको प्रतिविम्ब हो। नेपाल–चीन सन्दर्भमा जुन कुरा अन्तर्राष्ट्रिय लाग्छ, ब्लुरुममा ती कुराका उठान असान्दर्भिकझैं लाग्छन्।

पछिल्लो समय भने चिनियाँहरूको चर्चामा नछुट्ने विषय वान बेल्ट वान रोड (ओबीओआर) हो। चालु शताब्दीको सबैभन्दा महत्त्वाकांक्षी कामको रूपमा ओबीओआरको व्याख्या र विश्लेषण सुरु भइसकेको छ। झट्ट हेर्दा आर्थिक मिसन भए तापनि त्यो उत्तिकै चीनको राजनीतिक महत्त्वाकांक्षा जोडिएको विषय हो। करिब दुई दर्जन बढी सहरहरू चहार्दा र केन्द्रीय र प्रान्तीय तहका चिनियाँ नेतृत्वहरूसँग औपचारिक एवं अनौपचारिक वार्तालापका क्रममा के कुरा मान्न विवश भइन्थ्यो भने उनीहरू केवल भन्नका लागि महत्त्वाकांक्षा तय गरेका छैनन्।

सन् १९८१ देखि सन् २०१२ बीचमा ५० करोड जनसङ्ख्यालाई गरिबीको रेखाबाट माथि निकालेर उनीहरूले आन्तरिक रूपमै सही महत्त्वाकांक्षाको एउटा हदलाई तोडेका छन्। १२ वर्षदेखि चीनमा बसेर चाइना डेली पत्रिकाका लागि काम गरेका भारतीय पत्रकार रविशंकर नरसिंहानले सुनाउंँथे, ‘चीनको सानोभन्दा सानो कुनै गाउँमा गएर एउटा औसत रूपमा साक्षर व्यक्तिलाई ओबीओआरको बारेमा सोध्नुस्, ऊ बोल्नुअघि धेरै सोच्दैन, भलै त्यहाँ ओबीओआरको सरोकार होस् वा नहोस्।’ उनको भनाइको अर्थ बुझ्न मलाई केही महिना लाग्यो। जब म यात्रामा निस्किन्थँे, परिकारका प्रदर्शनी, साहित्यिक समारोह, भूकम्प सचेतना कार्यक्रमजस्ता अमिल्दा कार्यक्रमको व्यानरका सिरानमा ‘वान रोड वान बेल्ट’को नारा झुन्डिएकै हुन्थ्यो।

ओबीओआरका हकमा अहिले चीनमा वास्तविक लक्ष्यसँग मेल खानेगरी पूर्वाधारका हिसाबले ठूला कामहरू भएजस्ता नदेखिए पनि यस्तै लहर र माहोल सिर्जना गर्ने काम ज्यादा भइरहेका छन्। त्यो दसौं लाख मानिसलाई आफ्नो लक्ष्य आत्मसाथ गराउने योजना अन्तर्गत नै हो। कनेक्टिभिटीका सिधा पूर्वाधार खडा भइनसक्दा पनि थुप्रै देशका लागि मालवाहक रेलहरू छुटिरहेका छन्। र ती भोलिपल्ट सबैजसो प्रमुख चिनियाँ समचारपत्रमा मुख्य तस्विर र समाचार बन्छन्। कुरा उही हो, अहिले चिनियाँहरूमा ओबीओआरको भूत सवार गराउने काम भइरहेको छ। लान्झाउबाट सिगात्सेसम्म रेल हुँदै काठमाडौंका लागि कन्टेनरहरू छुट्दा चिनियाँ कम्युनिष्ट पार्टी निकट द पिपुल्स डेलीले त्यसैगरी तस्विर र समाचार छापेको थियो। नेपालभित्र र भारतमा यो थुप्रै दिनका लागि समाचारको मसला बन्यो। खास त्यसको उद्देश्य पनि त्यसै होस् भन्ने थियो– ओबीओआरको लहर चीनभित्र मात्र नभएर नेपालजस्ता देशमा समेत उसैगरी चलाउने।

अहिले नेपाली नेताहरू हरेक पटक चिनियाँ नेतृत्व र प्राज्ञिक जगतसँग भेट्दा नछुटाउने एउटा वाक्य ओबीओआरप्रतिको प्रतिबद्धता पनि हुने गर्छ। प्रधानमन्त्री केपी ओलीले गरेको १० बुँदे व्यापार तथा पारवहन सम्झौतापछि काम अगाडि धेरै नबढे तापनि ओबीओआर फ्रेमवर्कमा कुरा गर्ने आधारचाहिंँ नेपालले तयार पारेको छ। ओबीओआरको ‘फोकल कन्ट्री’को रूपमा समावेश नभएकाले नेपाल खासमा यसबाट लाभ लिनसक्ने ठाउँमा छ कि छैन भन्ने सवाल अहिले नेपाली नेतृत्वमा खुबै छ।

बेइजिङमा नेपाल मामिला बुझेका र चिनियाँ नेतृत्वमा प्रभाव राख्ने भनेर चिनिएका प्राध्यापक हु सिसेङसँग भेट्दा उनको तर्कले भने एउटा आशावादी अवस्था देखाउँथ्यो। उनका अनुसार चीन–पाकिस्तान आर्थिक कोरिडोरमा अर्बौं लगानी भइसक्दा पनि भारत–पाकिस्तान तनावबीच त्यो दक्षिण एसिया जोड्न सक्नेमा अझै चिनियाँ पक्ष विश्वस्त हुनसकेको छैन। उता भारतसँगै दुइटा युद्धले छोडेको भावनात्मक अविश्वास र भौगोलिक सीमितता छन्। भुटानसँग त उसको दौत्य सम्बन्ध नै छैन। ठूलो दक्षिण एसियाली भूभाग समुद्री तटबाट परसमेत रहेको अवस्थामा जलमार्गमा मात्र सीमित हुँदा चीनको स्वार्थ पुरा हुनसक्दैन। सिसेङले स्पष्टसँग भने, ‘दक्षिण एसियामा चीनको स्वार्थका लागि नेपालको विकल्प छैन।’
मंसिर अन्तिम साता उनलाई भेट्न म सेन्ट्रल बेइजिङको चाइना इन्स्टिच्युट अफ कन्टेमप्रोरी इन्टरनेसनल रिलेसन्सको कार्यालय पुग्दा उनी टेबलमा रहेको कागजमा नेपालको नक्सा कोरिरहेका थिए। त्यसमा पाँच नम्बर प्रदेशतिर इंगित गरेर त्यतिखेर चलिरहेको विवादबारे मसँग बुझ्न खोजिरहेका थिए। भन्दै थिए, ‘यस्तो संवैधानिक तरलताका बीच कसरी रेल योजना अगाडि बढाउने? आखिर रेल त भुइँमै कुदाउनुपर्छ।’ नेपाल नीति बनाउँदा प्रभाव राख्ने उनीजस्ता विज्ञहरूको एउटा साझा मत के हुने गर्छ भने नेपालमा उनीहरू ‘विन–विन’ रणनीतिभन्दा बाहिर गएर काम गर्न चाहन्नन्। मैले प्राध्यापक सिसेङलाई सोधँें, ‘त्यो भनेको के हो?’ उनले उत्तर दिनुअघि धेरै सोचेनन्। भने, ‘चीनले नेपालमा कहिल्यै आफूपरस्त शक्ति खोजेको छैन, नत अन्य कुनै देशको विरोधमा उभियोस् भन्ने नै चाहेको छ।’

सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएसँगै जसरी कामहरू अगाडि बढ्नुपथ्र्यो, त्यो नभइराखेको बेला केपी ओली नेतृत्वको सरकारले चीनसँग गरेको १० बँदे व्यापार तथा पारवहन सम्झौताका कारण पनि अहिले चिनियाँ नेतृत्व र प्राज्ञिक जगतमा उसप्रति एकखाले सद्भाव छ। उक्त सम्झौताबाट चिनियाँहरू कतिसम्म आशावादी बनेका थिए भने तत्कालीन नेपाली राजदूत महेश मास्केलाई कार्यकाल सकेर फर्कने बेला विदेशमन्त्री वाङ यी स्वयंले दिएको विदाइले समेत बोल्छ। चिनियाँ विदेश मन्त्रालयका एक अधिकारीले भन्दै थिए, ‘राजदूतको विदाइमा विदेशमन्त्री नै सहभागी हुनु निकै दुर्लभ जेस्चर हो।’ यद्यपि त्यसो भन्दैमा नेपालमा चीनको विश्वासिलो मित्र भनेको एमाले मात्र हो भनेर बुझ्नु गल्ती हुने अधिकारीहरू बताउँछन्। ‘कसलाई आफ्नो नेता बनाउने भन्ने नेपालीकै रोजाइ हो, किनकि आफ्नो इतिहास उनीहरूले जत्तिको राम्ररी कसैले बुझेको हँुंदैनन्,’ नाम उल्लेख नगर्ने सर्तमा चिनियाँ विदेश मन्त्रालयका एक अधिकारीले भने, ‘जसकै आधारमा विकास कसरी हुन्छ भन्ने पनि उनीहरूलाई नै थाहा हुन्छ।’ यद्यपि चिनियाँहरूको अहिलेको चासो कांग्रेस–माओवादी गठबन्धन सरकारले ओलीले गरेका सम्झौता अगाडि किन बढाइरहेका छैनन् भन्नेमा छ।

नेपाली प्रतिनिधि मण्डलहरूसँगका वार्तामा बारम्बार चिनियाँहरूले स्थायित्वको कुरा किन पनि उठाउँछन् भने उनीहरूको विकास जुनकुनै मूल्यमा सही, स्थायित्वकै बीचमा भएको हो। ती अधिकारीले भने, ‘शीर्ष तहमा सम्झौता भइसक्दा पनि कार्यान्वयन तहमा जानका लागि केले रोकिरहेको छ?’ चिनियाँ अधिकारीहरूले बारम्बार भन्ने स्थिरतामा नेपाली कर्मचारी तन्त्रभित्रको स्थिरता भन्ने शब्दावली दोहोर्‍याउन थालेका छन्। सरकारहरू फेरिइरहंँदा गुम्ने ‘इन्स्टिच्युसनल मेमोरी’ले १० बुँदेजस्ता ठूला कदम चाल्न अप्ठ्यारो हुने आशयका संकेत त उनीहरू बारम्बार नेपाली प्रतिनिधि मण्डलसँग दोहोर्‍याइरहेकै छन्।

१० बुँदे सम्झौताको जश ओलीको पोल्टामा परे पनि चीनसँगको सम्बन्धलाई एक तह माथिबाट हेर्नुपर्छ भन्ने संकेत सन् २००८ मै प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो भ्रमण बेइजिङ ओलम्पिकको अवसर पारेर चीनबाट गरेर दिएका थिए। त्यसलाई चिनियाँ नेतृत्वले सम्बन्धलाई नयाँ शिरामा लैजाने अवसरकै रूपमा पनि ढाल्न खोजेको थियो। संकेतमार्फत अर्थ दिनमा माहिर चिनियाँ कूटनीतिक शैली अपनाएरै तत्कालीन राष्ट्रपति हु जिन्ताओले दाहालसँग औपचारिक भेटमार्फत नेपालप्रतिको महत्त्व दर्शाएका थिए। जबकि ओलम्पिकका बेला बेइजिङमा एक सय बढी देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरू जुटेका थिए।

स्वदेश फर्केलगत्तै जसरी उनले ‘पहिलो राजनीतिक भ्रमण’ भने भारतबाटै सुरु गर्ने बताए, त्यसले उनको ‘क्रान्तिकारी छवि’लाई चिनियाँहरू सामु धानिराख्न सकेन। पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) निकट ग्लोबल टाइम्स अंग्रेजी दैनिकमा नेपाल र भारतका विषयमा चर्को लेख लेखिरहेका नेपालविद् सु लियानको भनाइले पनि यसलाई पुष्टि गथ्र्यो। उनको भनाइ थियो, ‘सन् २००८ मा हामीले प्रचण्डलाई भेट्दा विश्वासिलो साथी पाएको सोचेका थियौं, तर अहिले हामी उनीबाट निराश छौं।’

यद्यपि चिनियाँ नेतृत्वको एमाले र माओवादीसँग वार्ता र छलफलहरू भइरहने एकखाले सम्बन्ध र संरचना छ। नेपाली कांग्रेसको हकमा त्यो अझै बलियोसँग स्थापित भइनसकेको उनीहरू स्वीकार्छन्। जब १९ कात्तिकमा भारतको गोवामा कांग्रेस सभापति शेरबहादुर देउवा निर्वासित तिब्बती सरकारका प्रधानमन्त्री मानिने ‘सिक्योङ’ लोब्साङ साङ्गेसँग एउटै मञ्चमा देखिए, उसै पनि तङ्ग्रिन नसकेको सम्बन्धमा चिसोपन महसुस गरियो। ज्ञातव्य रहोस्, जसलगत्तै चीनले कूटनीतिक संयन्त्रबाट नेपाल सरकारसँग एक चीन नीतिप्रतिको पुन:प्रतिबद्धता खोजेको थियो। उक्त घटनाबाट चीन कतिसम्म चिढिएको थियो भन्ने आभास प्राध्यापक हु सिसेङसँगको वार्तालापले पनि सजिलै बोलिरहेको थियो। ‘चिनियाँ कूटनीतिको आफ्नै रेड लाइन छ,’ उनको भनाइ थियो, ‘आशा छ, देउवाले पुन: यस्तो दोहोर्‍याउने छैनन्, जसले उनलाई नै अप्ठ्यारोमा पारोस्।’

तिब्बत कति संवेदनशील विषय हो भन्ने गोवा घटनासँगैको विकासक्रमलाई हेरे पुग्छ। चिनियाँ प्राज्ञहरूका पछिल्ला अन्तर्वार्ताहरूलाई केलाउँंदा उनीहरूले नेपालमा चीनको चासो तिब्बती मामिलाबाट धेरै माथि उठिसकेको बताइरहे पनि मियो भने अझै पनि तिब्बत नै हो भन्ने आभास पाइन्छ। अहिले पनि चीनलाई चाहे दक्षिणी समुद्री सागरका टापुहरू हुन् वा हङकङ, मकाउजस्ता विशेष प्रशासनिक क्षेत्रहरूको संवेदनशीलताले निकै पिरोलिरहेको हुन्छ, जुन चुनौती अमेरिकासँग छैन। यसले के कुरा स्पष्ट देखाउँछ भने चीन महाशक्तिमार्गमा जति नै अगाडि बढिरहे पनि अझै परम्परागत सुरक्षा चासो नै उसको एउटा प्रमुख चुनौती हो। तिब्बतमा विद्रोहको बिउ पनि प्राकृतिक रूपबाटै हराओस् भनेर चीनले ठूलै स्रोतको परिचालन गरिरहेको छ। तिब्बतका केही गाउँहरू डुल्दा अवसर सिर्जना गर्न भएका अनेकन लोभलाग्दा प्रयासहरू मैले प्रत्यक्ष देखेको छु। अर्थात् चीनले आफ्नो राजनीतिक समस्यासँग जुध्न पनि आर्थिक बाटो नै प्रयोग गरिरहेको छ। तिब्बतमा अहिले थुप्रै थिंक ट्याङ्कहरूसमेत छन्, जसले यस्ता प्रयास र तिनले दिइरहेका उपलब्धिहरूको सूक्ष्म मापन गरिरहेका छन्। एउटा खास पर्यटकीय गन्तव्यका रूपमा अहिले विकास भइरहेको तिब्बतमा पहिलो चरणमा अन्य चिनियाँहरू लैजान थालिएको छ, जुन आफैंमा पनि ठूलै कुरा मानिन्छ। जब चीन तिब्बत मामिलामा आफूभित्रै त्यति धेरै संवेदनशील छ, ढोकैमा रहेको नेपालसँग उसले किन त्यस्तो अपेक्षा नगरोस्।


सन् २०१५ मा तिब्बतमा नेपाल, भारत मामिलाका विज्ञ प्राध्यापकहरू जुटेका थिए। जतिखेर नेपाललाई कसरी हेर्ने भन्नेमा पहिलोपटक स्पष्ट दुई धारहरू देखिएका थिए। एउटा धारमा पुराना पुस्ताका प्राज्ञहरू छन्, जसले नेपाललाई तिब्बत मामिलासँग मात्र जोडेर हेर्नुपर्ने र बाँकी राजनीतिक मुद्दाबाट परै रहनुपर्ने मत राख्छन्। पछिल्लो पुस्ताका प्राज्ञहरू भने नेपालमा चिनियाँ लगानी बढाउनुको अर्थ नेपाललाई स्थिरताको बाटोतर्फ डोर्‍याउनु हो भन्ने ठान्छन्। जसले अन्तत: नेपालमा बाह्य प्रभाव रोक्छ र त्यो बृहत्तर चिनियाँ स्वार्थमा छ भन्ने ठान्छ। प्राज्ञिक जगतका परामर्शलाई महत्त्व दिइने राजनीतिक संस्कारबीच चिनियाँ कम्युनिष्ट पार्टीमा समेत यिनै दुई धारहरू पाइन्छन्। सीपीसीमा अहिले ८० करोड बढी सदस्य छन्। त्यो सदस्यता नेपालमा सदस्यता रसिद काटेजसरी पाइँंदैन। त्यसको लागि एउटा बेग्लै लम्बे प्रक्रिया र प्रशिक्षण सामना गर्नुपर्छ।

बन्द चिनियाँ समाज वा खुलापनपछि पनि उनीहरू अमेरिका, रसिया, जापानजस्ता शक्तिलाई नै प्रतिस्पर्धी मानेर अगाडि बढ्दा विज्ञहरू पनि ज्यादा तिनकै लागि उत्पादन गरिए। विकासको एक विन्दुमा पुगिसकेपछि अहिले समीक्षा गर्दा छिमेक, साना एवं विकासोन्मुख राष्ट्रहरूको अर्थसमेत उत्तिकै हुने ठानेर सीपीसीभित्रै वा स्वतन्त्र रूपमै पनि नेपालजस्ता देशका विज्ञहरू तयार पार्ने काम भइराखेको छ। नत्र त अहिले बेइजिङमा नेपालबारे बोल्ने धेरैजसो विज्ञहरू खास नेपालकै विज्ञभन्दा पनि समग्र दक्षिण एसिया वा भारतको अध्ययन गरेको भरमा बोल्ने हुन्। एसियाली मामिलाका विज्ञहरू रहने इन्स्टिच्युट अफ एसियन स्टडिजकी प्रमुख प्राध्यापक वे लिङले बहुपक्षीय कूटनीतिमा उन्मुख चीनले अहिले विद्यार्थीहरूलाई ठूला शक्तिबाहेक पनि करिअर बनाउन उत्तिकै प्रोत्साहन गरिरहेको बताउँछिन्। आफ्नो एक काठमाडौं बसाइमा सार्क सचिवालय पुगेको स्मरण गर्दै उनले त्यहाँ भएका दर्जन आसपासका कर्मचारी सङ्ख्यालाई झन्डै दुई सय बढी कर्मचारी भएको दक्षिण—पूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) सँग तुलना गर्दै भनिन्, ‘सार्क भित्रैबाट र बाहिरबाटै पनि प्राथमिकतामा परेको देखिँंदैन।’

पछिल्ला वर्षमा चिनियाँ अधिकारीहरूको काठमाडौं आउने क्रम बाक्लिरहेको छ।उनीहरू काठमाडौंमा के देखिरहेका वा खोजिरहेका छन्? राजनीतिक तरलताकै बाबजुद पनि नेपालमा आतंकवादको समस्या नहुनुलाई चिनियाँ पक्षले एउटा ठूलो लाभको रूपमा हेरेको छ। जुन मैले भेटेका अधिकारीका जवाफमा हुने साझा उत्तर थियो। आफ्नो शान्तिपूर्ण उदय, अहस्तक्षेपकारी नीति र विन–विन सहकार्यजस्ता शब्दावली जोडिने चिनियाँहरूका औपचारिक जवाफ प्राय: उस्तै हुन्छन्। तर अनौपचारिक वार्ता वा उनीहरूका भावभंगी केलाउंँदा चिनियाँ दृष्टि ती शब्दावलीकै आडमा मात्र व्याख्या हुन सक्दैनन्। काठमाडौंमा पश्चिमा देशका व्यापक जनशक्ति र आवत—जावतलाई समेत उनीहरू निको मानिराखेका हँुंदैनन्। त्यसरी हेर्दा प्राथमिक तहको स्वार्थभन्दा पनि अन्य बहुआयामिक स्वार्थ नेपालमा जोडिएको छ। जसले गर्दा अब नेपाललाई सानो अर्थतन्त्रका कारण धेरै भिज्नु हुंँदैन भन्ने पुरानो धारका चिनियाँ नेतृत्वको तर्क कमजोर भइरहेको देखिन्छ।

बरु नेपालमा भिज्न अब आफ्नो ‘सफ्ट पावर’लाई बलियो बनाउनुपर्छ भन्ने बुझाइ उनीहरूमा थपिएको छ। नेपाली विद्यार्थीहरूले चीनमा छात्रवृत्ति पाउने क्रम वर्षेनि बाक्लिँंदो छ। नेपाल मामिलालाई नजिकबाट हेर्ने सिचुवान विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ साउथ एसियन स्टडिजकी कार्यकारी निर्देशक प्राध्यापक ली ताओले आफ्नो एक अन्तर्वार्तामा आफ्नो मुलुकको ‘सफ्ट पावर’ कमजोर हुनुमा आफूहरूले धेरैजसो पठाउने इन्जिनियरहरूसँग तुलना गर्दै पश्चिमा जगतले नेपालमा पठाउने जस्ता सार्वजनिक रुचिका व्यक्तिहरू नहुनुलाई कारण बताएकी थिइन्। तर अहिले चीन प्रायोजित भाषा कक्षा पढेर स्कुले बालबालिकाहरूले अक्षर नचिन्दै ‘नी हाओ’ भट्याउन सुरु गरेका छन्। यद्यपि भूकम्पसँगै नेपालमा चिनियाँ गैरसरकारी संस्थाहरू (गैसस) झन् बढी भित्रिरहेका छन्। चीनको गैसस भनेको पनि सरकारी नीति र सहयोगकै भरमा स्थापना भएका हुन्छन्, जसलाई चीनको साझा गन्तव्य पक्रेका तर भिन्न बाटो समातेका अस्त्रमात्र मान्दा हुन्छ। ठूला अख्तियारीमा पुग्न चाहे प्राज्ञिक जगत कर्मचारीतन्त्र वा गैससकै व्यक्तिहरू नै सीपीसीका महत्त्वपूर्ण तप्का सम्हालेका व्यक्ति नै हुन्छन्। तर उनीहरूले कहिल्यै आफूलाई पार्टीसँग नजोड्न आग्रह गर्छन्। यो भनेको कस्तो हो भने जसरी चिनियाँहरू कम बोलेरै धेरै बुझाउँछन्, त्यसरी नै चीन बुझ्न चाहनेले कम सोधेरै धेरै बुझ्नुपर्छ भन्ने हो।

थुप्रै चिनियाँहरूसँगको भेटघाट, त्यहाँका संरचना र संयन्त्रलाई पछ्याउँदा पनि आखिर देखिन्थ्यो त्यही, चीनले हामीलाई हेरिरहेको छ, संकेत दिइरहेको छ। तर हामीले तिनलाई बुझ्न र तिनको रफ्तारमा काम नगर्दा चाइना पब्लिक डिप्लोमेसी एसोसिएसनका उपाध्यक्ष ज्याङ्वेका नाति पुस्ता एकातर्फ नेपालबाट टाढिइरहेको त छैन वा कतै नेपाललाई तिब्बतसँग मात्र जोडेर हेर्नुपर्ने पुराना पुस्ताका प्राज्ञ/नेतृत्वको मत हावी भइरहेको त छैन? १० महिने बसाइ सकेर बेइजिङको जमिन छाड्दासमेत मेरो मनमा यिनै प्रश्नहरूले उत्तर खोजिरहेका थिए। जसको जवाफ दिनु ज्याङ्वे जत्तिकै मलाईसमेत कठिन थियो।

विशेष रिपोर्ट

दिगो विकासको पर्यावरणीय मार्गचित्र

- कुलचन्द्र अर्याल

दिगो तथा पर्यावरणमैत्री विकास, जनसहभागितामूलक विकास, सशक्तीकरण र विकास, समावेशी विकासका साथै जनताको लागि विकास भन्नेजस्ता विकासका अधिकारमुखी सिद्धान्तहरू विकासका नवीन उपागमहरूका रूपमा आएका छन्। विकासमा वातावरणीय संवेदनशीलतालाई ख्याल गर्नुपर्छ र वातावरण तथा जैविक विविधताको संरक्षण गर्नुपर्छ भन्ने मान्यताको विकास सन् १९७० को दशकदेखि नै सुरु भएको हो। १९७१ मा फिनल्यान्डको हेलसिन्कीमा भएको वातावरणीय भविष्य सम्बन्धी सम्मेलन तथा १९७२ मा स्विडेनको स्टकहोममा भएको मानव वातावरण सम्बन्धी राष्ट्रसंघीय सम्मेलन यस क्षेत्रका सुरुवाती कदमहरू मान्न सकिन्छ। यद्यपि १९८३ गठन भएको ब्रुटल्यान्ड आयोगले १९८७ मा सार्वजनिक गरेको हाम्रो साझा भविष्य शीर्षकको रिपोर्टले वातावरण र विकास बीचको अन्तरसम्बन्धलाई प्रकाशमा ल्याइ पहिलोपटक दिगो विकासको अवधारणा अगाडि सारेको थियो। १९९२ को वातावरणीय विकास सम्बन्धी रियो सम्मेलनले २१ औँ शताब्दीको वातावरणीय कार्ययोजनाको रूपमा अगाडि सारेको एजेन्डा २१ ले दिगो विकास र वातावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय साझेदारीको आधार तय गरेको थियो। सम्मेलनले जारी गरेको वातावरण र विकास सम्बन्धी रियो घोषणापत्रले आफ्नो विकासमा सहभागिता जनाउने जनताको अधिकार परिभाषित गर्नुका साथै साझा वातावरणको संरक्षण गर्ने मानव मात्रको दायित्व किटान गरेको थियो। साथै प्रदूषकले तिर्ने सिद्धान्त, विकास प्रक्रियामा वातावरण संरक्षण अन्तरनिहित हुनुपर्ने, दिगो विकासका लागि विश्वमा गरिबी निवारण तथा असमानताको अन्त्य हुनुपर्ने जस्ता सिद्धान्तसमेत रियो घोषणामा अघि सारिएको थियो। २००२ मा दक्षिण अफ्रिकाको जोहानेसवर्गमा भएको दिगो विकास सम्बन्धी विश्व सम्मेलन तथा २०१२ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको दिगो विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (रियो प्लस २०) मार्फत विश्वका राष्ट्रहरूले दिगो विकासका सन्दर्भमा आफ्ना प्रतिबद्धता तथा कार्ययोजना मुखरित गर्दै आएका छन्।

दिगो विकासले विकासका वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, मानवीय र शासकीय आयाम समेटेको हुन्छ। यसले विकासका क्रममा स्रोतको समुचित उपयोग गरी भावी पुस्ताले स्रोतको प्रयोग गर्न पाउने अवस्थाको सुनिश्चितता गर्नुपर्छ भन्ने वकालत गर्छ। विकास प्रक्रिया स्वभावैले मानवीय स्वार्थ पुरा गर्ने बाटो हो। तर प्रकृतिको संरक्षण र सन्तुलन गर्ने दायित्व पनि मानिसमै रहेकाले पर्यावरणीय चक्रमा न्युनतम असर पुग्ने गरी मानवीय क्रियाकलाप सञ्चालन हुनुपर्छ। विकासको दिगोपना र अत्युत्तम लाभका लागि आर्थिक दिगोपना, सामाजिक र सांस्कृतिक दिगोपना तथा वातावरणीय दिगोपना सुनिश्चित हुनुपर्छ ।

विश्वमा अहिले ‘मानवीय क्रियाकलाप विरुद्ध वातावरण’ एउटा चोटिलो मुद्दा बनिरहेको छ। आर्थिक वृद्धिको होडबाजीमा वातावरणीय दिगोपना प्राथमिकतामा पर्न नसक्दा र विकासको स्वाभाविक रफ्तार अघि बढिरहँदा वातावरण प्रदूषण, हरितगृह प्रभाव, जलवायु परिवर्तन जस्ता नकारात्मक असर बढिरहेका छन्। मानव विकासको प्रमुख सूचकको रूपमा रहेको आयमा तीव्र रूपमा वृद्धि हुँदा प्राकृतिक स्रोत दोहनको दर पनि बढिरहेको छ। मानवीय क्रियाकलाप स्वभावत: प्रकृतिको चक्रको सन्तुलनभन्दा पनि प्रकृतिमा प्राप्त पदार्थ वा ऊर्जालाई सकेसम्म बढी आफ्नो हितमा रूपान्तरण गर्नमा केन्द्रित हुन्छन्। यसले गर्दा प्रकृतिको सन्तुलित चक्रिय प्रणाली खल्बलिन्छ। स्रोतको दोहन बढ्दा सिर्जित वातावरण विनाशको फलस्वरूप विभिन्न प्राकृतिक प्रकोपले पुर्‍याउने क्षतिमा बढोत्तरी भइरहेको छ। जलवायु परिवर्तन तथा उष्णीकरणले हिमगलन र समुद्री सतहमा वृद्धि, अतिवृष्टि, अनावृष्टि, सुख्खा खडेरी लगायत ‘वेदर एक्स्टि्रम’का घटना बढिरहेका छन्। प्राकृतिक प्रकोपका घटनामा वृद्धि भैरहँदा धेरै मानिस वातावरण शरणार्थी हुनुपरेको छ। जल प्रदूषण, वायु प्रदूषण लगायतका वातावरणीय प्रदूषणका कारण रोगव्याधीको जोखिम बढिरहेको छ। प्रदूषणबाट सिर्जित स्वास्थ्य समस्याको समाधानमा हुने खर्चका कारण गरिब देशहरू झनै गरिब बन्दै गैरहेको बताइन्छ। जलवायु परिवर्तनले गर्दा खाद्यान्न उत्पादन घटेसँगै भोकमरीको समस्या बढिरहेको छ भने पानीका स्रोतको क्षयीकरणले समस्यालाई झनै चर्काउँदैछ।

विकासको सर्वोत्तम लक्ष्य भनेकै मानव विकास हो। आधुनिक मानव विकास अवधारणाले जल, ऊर्जा र खाद्यान्न बीचको पर्यावरणीय तथा सामाजिक—आर्थिक अन्तरसम्बन्धको खोजी गर्छ। प्रकृति र वातावरणले विकासका लागि आवश्यक स्रोत, साधान, वस्तु तथा सेवा उपलब्ध गराउँछ। मानव मात्रको गुणस्तरीय जीवन र समृद्धि वास्तवमा खाद्यान्न, पानी, ऊर्जा र जैविक विविधताको मात्रा र गुणमा भर पर्छ। त्यसैले वातावरणीय अवस्था नै हाम्रो अस्तित्व, विकास र प्रगतिको निर्धारक हो। हामीले वातावरणलाई कस्तो व्यवहार गर्छौं वा प्राकृतिक संसाधनको कसरी सदुपयोग गर्छौं, त्यसमा नै विकास सम्भव हुन्छ। स्वास्थ्य, शिक्षा, आय तथा लैंगिक समानता, पर्यावरण चक्र सन्तुलन र ऊर्जाजस्ता विषयलाई एकसाथ सम्बोधन गरेमा मात्र वातावरणीय दिगोपना प्राप्त हुनसक्छ। मानवीय आवश्यकता पूर्तिसँगै वातावरणको संरक्षण र सदुपयोग गरी दिगो विकास पद्धति अवलम्बन गर्नु अहिलेको आवश्यकता हो। प्रभावको मूल्यांकन, सहभागितामूलक एवं वातावरणमैत्री विकास पद्धति अवलम्बन, व्यवस्थित सहरीकरण तथा औद्योगीकरण र वैज्ञानिक भूमिसुधार, दिगो तथा पर्यावरणमैत्री प्रविधिको प्रयोग अनि हरित अर्थतन्त्रको प्रबद्र्धन २०१५ सेप्टेम्बर २५ मा विश्वका मुलुकहरूले दिगो विकास एजेन्डाको एक पाटोको रूपमा भोकमरीको अन्त्य, पृथ्वीको रक्षा तथा सबैका लागि समृद्धि सुनिश्चित गर्ने लक्ष्य अंगिकार गरे। दिगो विकास लक्ष्यले खासगरी पाँच पी (पिपुल, प्लानेट, प्रोस्पेरिटी, पिस र पार्टनरसिप) अर्थात् मानिस, पृथ्वी, समृद्धि, शान्ति र सहकार्य जस्ता अत्यन्तै महत्त्वपूर्ण क्षेत्रमा जोड दिएको छ। २०१६ देखि २०३० सम्ममा प्राप्त गर्नेगरी तय गरिएका १७ वटा लक्ष्यलाई नै दिगो विकास लक्ष्य भनियो। यसलअन्तर्गत गरिबी अन्त्य तथा खाद्य सुरक्षा र पोषणको उपलब्धता, समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा, लैंगिक समानता, सबैका लागि पानी र सरसफाइ, दिगो तथा आधुनिक ऊर्जाको पहुँच, समावेशी तथा दिगो आर्थिक वृद्धि, सुरक्षित तथा दिगो सहर र मानव बस्ती, स्रोतको दिगो उपभोग, जलवायु परिवर्तनका असरसँग जुध्न तत्काल कदम चाल्ने रपारिस्थितिक पद्धतिको सुरक्षा जस्ता विषयको व्यवस्थापनलाई प्रमुख रूपमा जोड दिएको पाइन्छ।

सिद्धान्तत: वातावरणीय विनाशको दीर्घकालीन असर मानवीय अस्तित्वसँग जोडिएको हुन्छ। इतिहासलाई हेर्ने हो भने मानव सभ्यताहरूको उत्थान र पतनमा वातावरणीय संकटकै हात रहेको छ। पर्यावरणीय विनाश वा प्रकोपका कारण इतिहासका केही मुख्य मानव सभ्यता विलिन भएका छन्। यसर्थ वातावरणीय दिगोपनालाई विकास प्रक्रियाको अभिन्न पाटोको रूपमा अंगिकार गर्नैपर्छ। आजको विकास प्रक्रियामा वातावरणीय स्रोतको सदुपयोग र रक्षा हुन सकेन भने भोलिका पुस्ताले आर्थिक—सामाजिक विकासका आवश्यकता पूर्ति गर्ने स्रोतसाधन भेट्टाउने छैनन्। स्रोतको चरम दोहन गर्ने निर्विवेकी विकासबाट क्षणिक रूपमा संख्यात्मक आर्थिक वृद्धि हासिल भए पनि गुणात्मकता तथा दिगोपनाको अभावमा कालान्तरमा त्यो प्रत्युत्पादक बन्ने छ ।

Page 8
स्वास्थ्य

कुष्ठरोग

५ प्रतिशत नयाँ रोगीहरूमा अझै अपांगताको समस्या
- अतुल मिश्र

बाँकेको कोहलपुरका एक थारू युवा भन्दै थिए, ‘यो दाग बचपनदेखिको होइन, एक वर्षयता मात्र देखिएको हो । अहिले ज्यान काटे कुष्ठको औषधि खान्नँ। मेरो पुर्खामा कसैलाई यो रोग छैन। पहिले दादको दवा लगाउँछु। सन्चो नभए मात्र फेरि आउँछु। अहिले मलाई दादको दवा दिनुस्।’३५ वर्षे ती युवा रझेना स्वास्थ्य चौकीमा यसै साता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), नेपालका नेग्लेक्टेड ट्रपिकल डिजिज विशेषज्ञ डा. केशव योगीलाई आफ्नो रोगबारे सुनाउँदै थिए। दैनिक ज्यालादारीमा काम गरेर जीवन धान्ने उनी लसुन लगाउँदा यो समस्या आपैंm जान्छ भनेर डाक्टरलाई टिप्स पनि दिँदै थिए। शरीरमा देखिएको दागको संवेदनशीलता परीक्षण गर्ने क्रममा उनको फोस्रो छाला भएको ठाउँमा छुँदा मात्रै होइन, नछुँदा पनि उनी ‘मैले थाहा पाएँ’ भन्दै थिए।

‘हामीले अहिले उनलाई अवलोकनमा राखेका छौँ,’ वरिष्ठ अहेव शारदा चन्दले भने। उनका अनुसार, उक्त स्वास्थ्य चौकीबाट अहिले १३ जनाले कुष्ठको औषधि सेवन गरिरहेका छन्।‘कुष्ठको डरले गर्दा छालामा देखिएको दागलाई पहिले आफैँ दाद भन्दै विभिन्न मल्हम लगाउने चलन छ,’ स्वास्थ्य मन्त्रालयको कुष्ठण्रोग नियन्त्रण महाशाखाका निर्देशक एवं स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. वासुदेव पाण्डेले भने, ‘धेरैजसो जिल्लाका बासिन्दा कुष्ठरोग भए पनि सुरुमा अन्य उपचार प्रक्रियामा जाने प्रवृत्ति देखिएको छ।’

कुष्ठरोग हुँदा शरीर गल्ने गर्छ। यही कारण शरीर विकृत हुँदै जान्छ र उपचारमा ढिलाइ भए रोग निको भइसक्दा पनि शारीरिक विकृति जीवनपर्यन्त रहन्छ। त्यही भएर समाजमा यो रोगबारे अझै एक खाले भयले जरो गाडेको देखिन्छ। ‘हाम्रो समाजमा अझै पनि कुष्ठरोगीको उपचार हुन सकेको छैन,’ डा. पाण्डेले भने, ‘समयमै रोग पहिचान हुन नसक्दा बिरामीहरू अंगभंग हुने अवस्था आएपछि मात्र उपचार गर्न चासो दिन्छन् र जीवनभरका लागि शारीरिक अपांगता लिएर बाँच्ने गर्छन्।’हाम्रो मुलुकमा यो आर्थिक वर्ष ३ हजार ५४ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। यस्तै, भारतका करिब सात सय बिरामीले समेत नेपालतिरै उपचार लिने गरेका छन्।


डा. पाण्डेका अनुसार, हाल मुलुकमा बर्सेनि देखिने नयाँ कुष्ठरोगीहरूमध्ये करिब ५ प्रतिशतमा शारीरिक अपांगता हुने गरेको छ। हाम्रो मुलुकमा बर्सेनि करिब ३ हजार २ सय नयाँ कुष्ठरोगी थपिने गरेका छन्। अर्थात्, हाम्रोमा हरेक वर्ष १ सय ६० जना कुष्ठरोगी हातखुट्टाका औँला, नाक आदि झरेर भएको अपांगताजस्ता विभिन्न किसिमका अशक्ततासँगै बाँच्न विवश छन्। जब कि समयमै उपचार हुन सके यो रोगको दागसम्म बस्दैन।
यसैले सरकार सन् २०२० सम्म ७५ जिल्लाबाटै कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा घरघर गएर नयाँ कुष्ठरोगी खोज्न सुरु गरेको हो।
बाँकेमा सरदर १० हजार जनसंख्यामा करिब तीन जना कुष्ठरोगी छन्। हाम्रो मुलुकमै सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्ला हो यो। बाँके, बर्दियालगायत १८ जिल्लामा अझै १० हजार जनसंख्यामा एक जनाभन्दा बढी कुष्ठरोगी छन्। बर्दियाचाहिँ कुष्ठरोगी सबैभन्दा बढी हुने जिल्लामा तेस्रो नम्बरमा छ। यी दुवै जिल्लाबाट उपचारमा नआएका कुष्ठरोगीको पाँचदिने खोजी अभियानमा शुक्रबारसम्म १ सय ९२ नयाँ कुष्ठरोगीको पहिचान गरिएको हो।

छालामा संवेदनहीन दागलगायत कुष्ठका अन्य लक्षण देखिए वा अन्यलाई भएको थाहा पाए तुरुन्तै नजिकको स्वास्थ्य चौकीमा गएर वा जान प्रेरित गरेर उपचार प्रक्रियामा ल्याउँदा यो रोगले शरीरमा पार्ने नकारात्मक असर मात्र नभई यसको विस्तारसमेत रोक्न सकिन्छ।
हालसम्म कुष्ठरोगले गर्दा मुलुकमा ३० हजारभन्दा बढी व्यक्तिमा दीर्घकालीन अपांगता देखिएको जनाउँदै डा. योगीले भने, ‘हालसम्म हाम्रो मुलुकमा १ लाख ७५ हजार जनाले बहुऔषधि उपचार पाइसकेका छन्।’

मुलुकबाट २०६५ मा कुष्ठनिवारण भएको घोषणा गरिए पनि १८ जिल्लामा अझै यो रोग निवारण भएको छैन। १० हजार जनसंख्यामा एक जना कुष्ठरोगी भए मात्र त्यसलाई निवारणको अवस्था भनिन्छ।

के हो कुष्ठरोग?
डब्लूएचओका अनुसार, माइक्रोब्याक्टेरियम लेप्रे ब्याक्टेरियाबाट हुने कुष्ठरोग दीर्घकालीन संक्रामक रोग हो। यसको ओथार अवधि पाँच वर्षको छ। तर यसको लक्षण देखिन २० वर्षसम्म लाग्न सक्छ। माइक्रोब्याक्टेरियम लेप्रेले बिस्तारै आफ्नो संख्या बढाउँछ। यो रोगले मुख्यत: छाला, बाहिरी स्नायु, माथिल्लो श्वासमार्गको श्लेष्म झिल्ली (म्युकोसा), आँखालाई प्रभावित गर्छ। यो रोग उच्च संक्रामक नभए पनि उपचार नगरिएका बिरामीको मुख र नाकबाट निस्किने पानीका ससाना थोपाका माध्यमले तिनको निरन्तर सम्पर्कमा आउने व्यक्तिमा सर्ने गर्छ।

शरीरमा कुष्ठको कीटाणु प्रवेश गर्ने माध्यमबारे अझै यकिन छैन तर छाला र माथिल्लो श्वासनलीका माध्यमले यो मानव शरीरमा छिर्ने गर्छ।
यूएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड हयुमन सर्भिस, नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) को तथ्यपत्रअनुसार, अनुसन्धानकर्ताहरू यो रोग सर्ने प्रक्रियाबारे अझै स्पष्ट छैनन्। तापनि बहुसंख्यकको विश्वास के छ भने, श्वासप्रश्वासबाट निस्किने पानीका स–साना कणबाट यो रोग फैलिन्छ। यस्तै, च्यातिएको छालासमेत रोग सर्ने अर्को सम्भावना हो। कुष्ठको कीटाणुले मानिसबाहेक आर्माडिलो जनावरलाई मात्र प्राकृतिक रूपमा प्रभावित पार्छ। डब्लूएचओले विभिन्न अध्ययन औंल्याउँदै नाकको श्लेष्म झिल्लीबाट निस्किने कुष्ठका कीटाणु बाहिरी वातावरणमा ३६ घण्टादेखि ९ दिनसम्म बाँच्न सक्ने जनाएको छ। सबै उमेर समूहकालाई हुन सक्ने कुष्ठरोग तीन सातादेखि ७० वर्ष माथिकामा समेत देखिएको छ।

  • उपचार
    बहुऔषधि उपचारले कुष्ठरोग निको हुन्छ। यो रोग बढी कीटाणु भएको मल्टी ब्यासिलरी (एमबी) र कम कीटाणु भएको पासी ब्यासिलरी (पीबी) गरी दुई प्रकारको हुन्छ। एनआईएआईडीका अनुसार, पासी ब्यासिलरी अर्थात् टयुबरकुलाइड कुष्ठरोगमा छालामा ‘हाइपोपिग्मेन्टसन’ एक वा बढी दागद्वारा चिनिन्छ। ति ठाउँमा छालाको संवेदना समाप्त हुन्छ। त्यहाँको स्नायु क्षतिग्रस्त भएर छाला लाटो भएको हो।

    यस्तै, मल्टी ब्यासिलरी अर्थात् बोर्डरलाइन कुष्ठरोगको तीव्रता मध्यम खालको हुन्छ। यो सबैभन्दा सामान्य रूप हो। यसमा छालामा दाग टयुबरकुलाइड कुष्ठरोगमा जस्तै देखिन्छ। तर त्यो धेरै बढी संख्यामा र अनियमित हुन्छ। ठूलो दागले पूरा अंगलाई प्रभावित गर्न सक्छ।
    मल्टी ब्यासिलरीकै लेप्रोमेटस कुष्ठरोगमा छालामा संक्रमित घाउ, ग्रन्थी, प्लाक, आन्तरिक छाला (डर्मिस) बाक्लो हुनु, नाकमा रगत जम्नु र बग्नुजस्ता समस्या हुन सक्छन्।

    एमबी भए एक वर्ष र पीबी भए ६ महिना नियमित रूपमा औषधि सेवन गर्नुपर्छ। उपचार प्रक्रियामा आएर औषधि सेवन गरिरहेकाहरूबाट यो रोग सर्दैन। बहुऔषधि उपचारको एक मात्रा औषधि सेवन गरेदेखि नै यसले शरीरमा भएको कुष्ठको ९९ प्रतिशत ब्याक्टेरियालाई निष्क्रिय बनाउँछ।
    मुलुकका सबै सरकारी स्वास्थ्य निकायहरूमा कुष्ठरोगको औषधि सित्तैमा पाइन्छ। यति मात्र नभई, सरकारले उपचार गर्न जाँदा यातायात खर्चबापत एक हजार रुपैयाँसमेत उपलब्ध गराउँछ। पुराना बिरामीमा समेत जटिलता देखिँदा उपचार प्रक्रियामा आएर फर्कने बेलामा यातायात खर्चबापत एक हजार रुपैयाँ उपलब्ध गराउने गरिएको डा. पाण्डे बताउँछन्।

    लक्षण
  • शरीरमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखिनु।
  • आखीभौँ लगायतका रौँहरू झर्नु।
  • हातखुट्टाका औँला कमजोर हुँदै खुम्चिएर अंगभंग हुनु।
  • खुट्टा निरन्तर झमझमाउनु।
  • हातखुट्टा छुँदा थाहा नहुनु।
  • स्नायु सुन्निनु वा दुख्नु।
  • मांसपेशी कमजोर हुनु।
  • कानको लोती बाक्लो हुनु।
  • अनुहार र शरीरमा गिर्खाहरू देखिनु।
  • छाला चम्किलो र चाक्लो हुनु।
Page 9
शैली

“साहित्यको विषय बहसबाट”

- कान्तिपुर संवाददाता
पोखरामा शुक्रबार सुरु चारदिने नेपाल साहित्य महोत्सवमा अवलोकनकर्तालाई चित्रबारे जानकारी दिँदै कलाकार मिलन शेरचन। महोत्सवमा यसपटक एक दर्जन कलाकर्मीका सिर्जना पनि प्रदर्शनमा छन्। तस्बिर : भीम घिमिरे/कान्तिपुर

पोखरा– साहित्यमा अब छलफल र बहसबाट विषयको छनोट गरी लेख्ने चलन बढेको वरिष्ठ उपन्यासकार ध्रुवचन्द्र गौतमले बताएका छन्।पार्दीस्थित पर्यटन बोर्ड परिसरमा शुक्रबार नेपाल साहित्य महोत्सवको छैटौं संस्करण उद्घाटन गर्दै उनले भने, ‘लेखनमा अब स्वान्त: सुखाय लेख्ने बेला बित्यो। अब बहस र छलफलबाट विषय छनोट गर्नुपर्छ। यो राम्रो अभ्यास हो।’

विभिन्न विधाका ४० सेसन निर्धारण गरिएको आगामी सोमबारसम्म चल्ने महोत्सवका लागि मुलुकका विभिन्न भागसँगै भारत र भुटानका लेखक पनि सहभागी छन्। राजधानीबाहिर रहेर लेखनकर्ममा क्रियाशील स्रष्टामध्ये आयोजकले अघिल्लो पटकका सहभागीलाई यसपटक उभ्याएका छैनन्।
कवि शिरोमणि लेखनाथ पौडयालका केही छन्द कविता स्रष्टा प्रभा भट्टराईले वाचन गरेपछि सुरु भएको पहिलो दिनको सेसनमा मुख्य वक्ता प्रा. केदारभक्त माथेमाले मुलुकको शिक्षा क्षेत्रमा अपनत्वको भावनाभन्दा राजनीतिक भागबन्डाको संस्कार हाबी भएको भन्दै चिन्ता व्यक्त गरे। सुधारका लागि योग्यलाई छनोट गर्ने चलन भए मात्रै शिक्षाको गुणस्तर कायम हुने उनको भनाइ थियो।

सम्मेलनको पहिलो दिन फरक फरक ६ वटा सेसन भए। क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछिको पोखरा कस्तो हुने भन्ने ‘पोखरा अबको परिकल्पना’ विषयमा संसद्को विकास समिति सभापति रवीन्द्र अधिकारी र बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतलाई पत्रकार सुजित महतले बहसमा जोडे। बस्नेतले ३० लाख पर्यटक आउने अवस्थामा पोखरा आसपासका एकाध घण्टा दूरीका क्षेत्रमा पनि पर्यटकीय पूर्वाधार चाहिने भनाइ राखे। अधिकारीले विमानस्थलसँगै चक्रपथ र आसपासका क्षेत्रमा विकासका पूर्वाधारका लागि गुरुयोजनाको तयारी गरिरहेको बताए।

‘डेमोक्रेट्स एन्ड डिसेन्टर्स’ बहसमा कनकमणि दीक्षित र भारतीय लेखक रामचन्द्र गुहाले छलफल गरे। ‘कहाँ छन् बौद्धिक’ विषयमा आदित्य अधिकारीले सञ्चालन गरेको बहसमा चैतन्य मिश्र र सीके लाल सहभागी भए भने, देवेन्द्र भट्टराईले ध्रुवचन्द्र गौतम र खगेन्द्र संग्रौलालाई ‘अलिखित संवाद’ मा जोडे।पहिलो दिनका सेसनहरूलाई रामभक्त जोजिजु र विनोद बानियाँले आफ्ना गीतहरू सुनाएर बिट मारे।

शैली

प्रधान र गौतम सम्मानित

शैली संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं – पाँच दशकदेखि कथा लेखनमा सक्रिय परशु प्रधान र लघुकथाको सौन्दर्य शास्त्रको सैद्धान्तिक पृष्ठभूमि अध्ययन गर्ने समालोचक डा. लक्ष्मणप्रसाद गौतमलाई लघुकथा समाजले सम्मान गरेको छ।
प्रधानलाई सावित्री–केशर कथा सम्मान र गौतमलाई बाटुली–खिलध्वज लघुकथा सम्मानका साथै जनही १५ हजार रुपैयाँ प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले हस्तान्तरण गरे। कार्यक्रममा कथाकार हरि थापाको लघुकथा संग्रह ‘परिमित’ लोकार्पण पनि गरियो।

राम्रा कृति लेख्ने स्रष्टा सम्मानित भएको भन्दै उप्रेतीले खुसी व्यक्त गरे। धु्रव मधिकर्मीले थापाका कथाहरूले नेपाली समाज र पाश्चात्य समाजका विभिन्न गतिविधिको चित्रण गरेको बताए। ‘परिमित’ मा ५९ लघुकथा छन्। थापाका
यसअघि ‘अक्षरेखा’ र ‘व्यथाहरूको कथा’ गरी दुई कथा संग्रह, ‘तिब्बती विम्बहरू’ र ‘मेरो माटोसँग’ गरी दुई नियात्रा संग्रह प्रकाशित छन्।
कार्यक्रममा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले सम्मान राजनीतिक विचारधारा, निकटताका आधारमा प्रदान नगर्ने प्रतिबद्धता व्यक्त गरे।

शैली

तीनलाल पार्कमा कविगोष्ठी

शैली संक्षेप
- कान्तिपुर संवाददाता

रामेछाप – सहिद सप्ताहको अवसर पारेर रामेछापको मन्थलीमा रहेको तीनलाल पार्कमा शुक्रबार विशेष कवि गोष्ठीको भएको छ। कवि/कलाकार रमेश पौडेलले सहिदको सच्चा श्रद्धा र सम्मानका लागि मन्थलीको तीनलाल सालिक सिंगारेर साहित्य गोष्ठीको आयोजना गरेका हुन्। रामेछापमा जन्मेका सहिद गंगालाल श्रेष्ठ, कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र साहित्यिक सहिद कृष्णलाल अधिकारीको सालिक परिसरमा स्थानीय स्रष्टाहरूले रचना वाचन गरे। सिमसिमे पानीमा रामचन्द्र वियोगी, डा. सुमन कर्माचार्य, पेशल आचार्य, शृंखला कँडेल, रमेश ढुंगेल, सुनीता श्रेष्ठ, जगदीप मगर, मदनकृष्ण खरेल, उद्धव आचार्य अविचल लगायतले कविता, गीत र मुक्तक सुनाए।

स्थानीय समाजसेवी रामप्रसाद देवकोटाले तीनलाल पार्कको अवस्थाबारे जानकारी दिँदै पार्क सजाउने र कवि गोष्ठीको आयोजना गर्ने कवि/कलाकार पौडेललाई धन्यवाद दिए। एक महिनाअघि रामेछाप आएका पौडेलले गडुवारीमा निर्मित सालिकको संरक्षण नभएको देखेपछि सहिद सप्ताहमै आएर सालिक सिँगार्ने प्रण गरेका थिए। तीनलाल पार्कमा भएका सालिकको दुरास्थाबारे समाचार आएपछि यहाँ आउन ऊर्जा जागेको पौडेलले बताए।

Page 10
Page 11
अर्थ वाणिज्य

किन समाधान निस्केन पुराना भारु नोटको?

- कमलदेव भट्टराई

नयाँदिल्ली-नेपालमा रहेका पुराना ५ सय र १ हजारका भारु नोट साटिने हो कि होइन भन्ने अन्योलका बीच भारतले बैंकिङ तथा सरकारी प्रणाली बाहिर सामान्य नेपाली जनतासँग रहेको नोटको अनुमानित विवरण मागेको छ। गत साता राइसना डाइलगमा भाग लिन भारत भ्रमणमा आएका परराष्ट्रमन्त्री प्रकाशशरण महतसँगको भेटमा भारतीय पक्षले सर्वसाधारणसँग रहेका नोटको अनुमानित विवरण मागेको हो।

नेपालले भने आफूले जनतासँग रहेका ५ सय र १ हजारका नोटको अनुमानित विवरण उपलब्ध गराउन नसक्ने जानकारी गराएको छ। दुई साता अगाडि यसै विषयमा वार्ता गर्न आएको नेपाल राष्ट्र बैंकको टोलीसँग पनि भारतीय पक्षले विवरण उपलब्ध गराउन आग्रह गरेको थियो। यसले गर्दा नेपालमा रहेका पुराना भारतीय नोट नसाटिने हो कि भन्ने अन्योल बढेको छ। जति पछि भयो, त्यति अन्योल बढ्दै छ। किन त? कि नेपालले कूटनीतिक रूपमा प्रभावकारी पहल गर्न सकेन कि त भारतीय पक्ष नोट साट्ने पक्षमा नै छैन।

बंैकिङ प्रणालीमा रहेका भारतीय रुपैयाँ साट्न कुनै कठिनाइ नभए पनि सर्वसाधारणसँग रहेको रकम के हुने यकिन छैन। यसो हुँदै जाँदा नोट साट्ने सम्बन्धमा कुनै व्यवस्था नै नहुने अवस्था आउने सम्भावनालाई पनि सरकारी अधिकारीहरू नकार्दैनन्। पछिल्लो वार्तामा नेपाली पक्षले नोट साट्ने सम्बन्धमा तयार पारेको मोडालिटी भारतीय पक्षलाई बुझाएको थियो। तर, त्यसमा भारतले केही संशोधन चाहेको स्रोतले उल्लेख गरेको थियो।

मोडालिटीलाई अन्तिम रूप दिन नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच कुराकानी भइरहे पनि खासै प्रगति भएको छैन। गत साता भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपाल र भारतका बीचमा भएको वार्ता उपलब्धिमूलक भएको बताएका थिए। वार्तामा सहभागी नेपाली अधिकारीहरूले भने के हुन्छ भन्ने स्पष्ट जवाफ मिडिया र जनतालाई दिन सकेका छैनन्। बरु मिडियामा आएका विभिन्न खबरले वातावरण बिग्रने बताइरहेका छन्।

भारतले विशेष गरी नेपालमा नोट साट्ने व्यवस्था गरे भारतबाट कालो धन त्यता जाने र त्यो साटिन सक्ने चिन्ता व्यक्त गर्ने गरेको छ। नक्कली नोट साटिने भय पनि भारतीय पक्षले देखाइरहेको छ। नेपाली पक्षले त्यो कुनै हालतमा हुन नदिने र वास्तविक रूपमा समस्यामा परेका नेपालीको नोट मात्र साटिने भनेर आश्वस्त पारिरहेको छ। त्यसैले पनि भारतमा नोटबन्दी गरिएको ३ महिनासम्म पनि नेपालमा रहेका पुराना नोटको भविष्य निर्धारण भएको छैन।

नोट साट्ने सम्बन्धमा भएको ढिलाइले धेरै नेपालीले आफूसँग भएका नोट सीमामा एकदमै कम मूल्यमा साट्न थालेका खबरसमेत आइरहेका छन्। भारतमा नोटबन्दी भएपछि नेपालीलाई परेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आफंैले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गरेका थिए। पछि अर्थमन्त्री कृष्णबहादुर महराले भारतीय समकक्षी अरुण जेट्लीसँग समेत कुराकानी गरे।
गत साता मात्र भारतमा आएका परराष्ट्रमन्त्री महतले भारतीय पक्षसँग यस विषयमा कुराकानी गरेका थिए। नोटबन्दी गरिएको सुरुवाती दिनमा भारतले पहिला आफ्नो समस्या समाधान गर्नका लागि समय दिन आग्रह गरेको थियो। जानकारहरूका अनुसार नेपालले त्यतिबेला नै जोडदार रूपले यो एजेन्डालाई उठाउनुपथ्र्याे।

भारतमै डिसेम्बर ३० मा पुराना नोट साट्ने समय अवधि सकिएपछि झन् जटिल हुने परिस्थितिलाई आकलन गरेर पहिले नै जति दबाब दिनुपर्ने थियो, त्यो हुन सकेन। भारतमा अहिले रिजर्भ बैंकका केही शाखामा मार्च ३१ सम्म पुराना नोट साट्न सकिने व्यवस्था गरिएको छ। ‘नेपालीसँग कति भारतीय नोट छ, त्यो विषय होइन। जनतालाई नोट साट्ने प्रबन्ध गर्नु नेपाल सरकारको दायित्व हो,’ दिल्लीस्थित नेपाली दूतावासका एक उच्च अधिकारीले भने। भारतमा रहेका नेपाली कामदार, विद्यार्थीलगायतले भोगेका समस्या समाधान गर्ने विषयमा पनि कुनै प्रगति भएन।यो विषय आफैं सेलाएर गएको छ र नेपाली आफैंले आफ्नो समस्या समाधान गर्दै आएका छन्। कामदार, औषधि उपचार तथा पढ्ने सिलसिलामा भारत आउने नेपालीको समस्या समाधान नहुनुले अन्य ठूला विषयमा के प्रगति होला भन्ने प्रश्नचिह्न उत्पन्न भएको छ।

अर्थ वाणिज्य

पाँच सहर : जहाँ छोइनसक्नु छ घरजग्गा

काठमाडौं– हाम्रै राजधानीमा घरजग्गाको भाउ छोइनसक्नु छ, अमेरिका वा युरोपमा कत्ति महँगो होला? अनि घरजग्गाको मूल्यका हिसाबले संसारकै महँगो सहर कुन हुन सक्छ? तपाई पनि अधिकांशले जस्तै युरोपेली वा अमेरिकी मुलुकका कुनै सहरलाई घरजग्गाका हिसाबले महँगो सहरको कोटीमा राख्न सक्नुहुन्छ। त्यसो हो भने तपाई सरासर गलत हुनुहुन्छ। किनकि हालै ‘अक्सफोर्ड इकोनोमिक्स’ ले सार्वजनिक गरेको तथ्यांकका आधारमा भन्ने हो भने घरजग्गाको मूल्यका हिसाबले युरोपेली वा अमेरिकी सहर हैन, एसियाली सहरहरू सबैभन्दा महँगामा पर्छन्। ‘अक्सफोर्ड’ को प्रतिवेदनलाई आधार मान्दा घरजग्गाको मूल्यका हिसाबले विश्वका ५ महँगा सहरमध्ये एउटा मात्र युरोपेली रहेको छ भने अमेरिकाका कुनै पनि सहर यसमा यो सूचीमा अटाउन सकेका छैनन्। युरोप वा अमेरिकाका सहरसमेत सस्ता छन् भन्दा तपाईलाई लागिरहेको हुन सक्छ, ‘के न्युयोर्कमा पनि सुपथ मूल्यमा घरजग्गा पाइएला त?’ हो, एसियाका धेरै सहरभन्दा न्युयोर्कसमेत सस्तो छ। ‘हङकङ, बेइजिङ वा सांघाईमा ९ सय ७० वर्गफुटको अपार्टमेन्ट किन्न त्यहाँका बासिन्दाले आफ्नो ३० वर्षको औसत आय खर्चिनुपर्छ,’ घरजग्गाको भाउ र आम्दानीको समेत विश्लेषण गरिएको ‘अक्सफोर्ड’ को प्रतिवेदनमा भनिएको छ। त्यसो भए कुनकुन सहर सबैभन्दा महँगा छन् त?


हङकङ
विश्वकै सबैभन्दा महँगो घरजग्गा बजार भएको सहरका रूपमा हङकङ विगत सात वर्षदेखि कायम छ। घरको औसत मूल्य गत वर्षको त्यहाँको औसत गार्हस्थ आम्दानीको १८.१ गुणा बढी पुगेको ‘डेमोग्राफिया’ ले निकालेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको तुलनामा भने भाउमा केही कमी आएको हो। गत वर्ष त्यहाँको औसत गार्हस्थ आम्दानीको १९ गुणा बढी भाउ रहेकामा यसपटक सामान्य रूपमा घटेको देखिएको छ। हङकङ अहिले पनि ‘अत्यन्तै महँगो’ सहरका रूपमा रहेको प्रतिवेदनमा उल्लेख छ।

सहरी क्षेत्रमा घरजग्गाको मूल्य अकासिँदै गएको छ। पछिल्ला वर्षहरूमा बैंक ब्याजदरमा आएको कमी र चिनियाँ खरिदकर्ताको वृद्धिले भाउ बढाएको हो। सुपथ मूल्यमा घर पाउन छाडिएपछि हङकङमा यो सामाजिक समस्याका रूपमा समेत देखिन थालेको छ। साना र एकदमै अप्ठ्यारा खालका कोठायुक्त अपार्टमेन्टमा खाँदिएर बस्ने जमात बढ्दै जाँदा यस्ता अपार्टमेन्टलाई ‘पिँजडा घर’ समेत भन्न थालिएको छ।

 

मुम्बइ

साँघुरो प्रायद्वीपमा अवस्थित मुम्बई अहिले संसारकै केही सबैभन्दा महँगा घरजग्गाको केन्द्र बनेको छ। भारतीय व्यापारसम्बन्धी अनलाइन पत्रिका ‘क्वार्टज’ ले मासिक आम्दानी र घरखर्चका हिसाबले मुम्बई भारतकै सबैभन्दा महँगो सहरमा रूपान्तरित भएको उल्लेख गरेको छ। ‘भारतै महँगा सहरमध्येमा मुम्बई पर्छ,’ क्वार्टजले लेखेको छ। मुलुकमा सम्पत्ति वृद्धि हुँदै जाँदा धेरै निर्माणकर्ताहरूले भीडको सहर बनेको मुम्बईमा ठूला र अग्ला भवन बनाउने जमिनका लागि कडा संघर्ष गरिरहेका छन्। एकतिर व्यावसायिक निर्माताहरू महँगो मूल्य तिरेर जग्गा खोजिरहेका छन् भने अर्कोतिर लाखौं सुकुम्बासीहरूसमेत त्यहीँ छाप्रामा बसिरहेका छन्।

गत नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि मुम्बईको घरजग्गा कारोबारमा उथलपुथल मच्चिएको थियो। मुम्बईमा कर छल्नका लागि अधिकांश घरजग्गाको कारोबार नगदमा हुने गरेको छ। त्यसले भाउ बढाउन ठूलो भूमिका खेलको विश्लेषकहरूले बताउँदै आएका छन्। भ्रष्टाचार नियन्त्रणका लागि भन्दै मोदीले चालेको सो कदमले गर्दा यस वर्ष भने मुम्बईमा घरजग्गाको कारोबार घट्ने अनुमान गरिएको छ। त्यसले भाउ घटाउन केही राहत दिने बताइन्छ। ‘प्रोप (इक्युटी) नामक घरजग्गा विश्लेषण गर्ने विज्ञ कम्पनीले यस वर्ष मुम्बईमा घरजग्गाको कारोबारमा ३० प्रतिशतसम्म कमी आउने प्रक्षेपण गरेको छ।

बेइजिङ

घरजग्गाको भाउका हिसाबले चीनका महँगा सहरमध्येमा पर्छ बेइजिङ। हरेक वर्षजस्तो प्रदूषणले आक्रान्त हुने बेइजिङमा समेत बस्न चाहनेहरू बढदो भाउको पारो उकालो लागेको लाग्यै छ। बेइजिङमा हाल घरको मूल्य प्रतिवर्गमिटर ५ हजार ८ सय २० डलर रहेको त्यहाँको घरजग्गा तथा गाउँ–सरह विकासका लागि नगर विकास आयोगले जनाएको छ। गत सेक्टेम्बरमा औसत घरको मूल्य गत वर्षको तुलनामा झन्डै ३० प्रतिशतले बढेको थियो। चीनका मुख्य सहरको भाउ वृद्धिको तुलनामा यो ११ प्रतिशतले बढी हो।

उकालो लागेको भाउलाई केही कम गर्ने प्रयास गरिए पनि त्यसको वृद्धिमा कमी आउन सकेको छैन। लगानीकर्ताहरूले घरजग्गालाई लगानीको उपयुक्त माध्यम देखेका छन्। उनीहरूले दोहोरो अंकको वृद्धिदर देखेर यसमा लगानी गरिरहेका छन्। अधिकांश घरायसी सम्पत्तिका रूपमा घरजग्गालाई लिन थालिएको छ। यसले सहरी क्षेत्रमा घर, अपार्टमेन्ट र जग्गाको मूल्यवृद्धि रोकिने छाँट देखिँदैन।

सांघाई

चीनको औद्योगिक तथा आवास नगरी सांघाईको घरजग्गा बजारलाई एकदमै आकर्षक मानिन्छ। चीनको यो आधुनिक सहर पनि युरोप वा अमेरिकाका धेरै सहरलाई उछिन्दै संसारकै महँगा घरजग्गा हुने सरहको सूचीमा आबद्ध हुन पुगेको छ। सांघाईको घरजग्गा बजारलाई एकदमै लोकप्रिय बजार मानिन्छ। गत वर्ष यहाँको घरजग्गाको भाउ ४० प्रतिशतले बढेको छ। गत अगस्टमा एकै महिनामा घरजग्गाको भाउ ५ प्रतिशतले बढेको थियो। घरजग्गाको भाउ कम हुन एकदमै गाह्रो देखिन्छ। सन् २०१५ मा स्थानीय सेयर बजारमा आएको गिरावटले धेरैलाई घरजग्गामा तानेको हो। त्यसबेला सेयरमा लगानी गर्ने धेरैले ठूलो रकम गुमाउन पुगे। जसले अधिकांशलाई घरजग्गा नै विकल्प बन्यो। लगानी गर्ने अरू बाटो नभएपछि धेरैले उच्च प्रतिफल आउने लगानी क्षेत्रका रूपमा घरजग्गालाई लिएका छन्। यसले दिने प्रतिफलबाट आकर्षित हुने चिनियाँ धेरै छन्। सांघाईमा घरजग्गाको भाउमा चाँडै नै केही कमी आउने आशा भने गरिएको छ। नियमनकारी निकायले त्यहाँको घरजग्गाको भाउलाई घटाउन पहल गरिरहेकाले यस्तो आशा गरिएको हो। नियमनकारी निकायहरू भाउ घटाउन नसके पनि त्यसलाई स्थिर राख्ने पहलमा लागेका छन्। गत अक्टोबरमा चीनले सांघाईसहित १० मुलुकमा घरजग्गाको भाउ घटाउन वा स्थिर राख्नका लागि मापकहरू निर्धारण गरेको छ।


लन्डन

‘अक्सफोर्ड इकोनोमिक्स’ को प्रतिवेदनअनुसार घरजग्गाको मूल्यका हिसाबले सबैभन्दा धेरै महँगो सहरको पाँचौ स्थानमा परेको छ, युरोपेली सहर लन्डन। बेलायतको राजधानी लन्डन पहिलेदेखि नै महँगो सहरको पर्याय बन्दै आएको हो। एक दशकयता यो सहर साधारण मानिसका लागि सोच्नै नसकिने गरी महँगो भएको छ। पछिल्लो दशकमा यो सहरमा घरजग्गाको भाउ अस्वाभाविक रूपमा बढिरहेको छ। सन् २०१३ देखि त लन्डनको घरजग्गाको भाउ हरेक वर्ष दोहोरो अंकले बढिरहेको छ। १० वर्षभित्र लन्डन सहरमा औसत घरको मूल्य झन्डै दोब्बर भएको छ। सन् २००६ मा सहरी क्षेत्रमा घरको मूल्य औसतमा २ लाख ५७ हजार पाउन्ड रहेको थियो। सन् २०१६ मा यो भाउ बढेर ४ लाख ७४ हजार पाउन्ड पुगेको छ। जुन ८४ प्रतिशतको वृद्धि हो। सरकारले लन्डनमा घरजग्गाको भाउ घटाउन गरेका हरेक प्रयास निरर्थक हुँदै गएका छन्। पटकपटकका नीतिगत निर्णयहरू निकम्बा बनेका छन्। सरकारले विलासी घर र आपर्टमेन्टका लागि उच्च कर लगाउने नीति लिए पनि त्यसले भाउ कम गर्न सकिरहेको छैन। पछिल्लो पटक ‘इकोनोमिस्ट’ ले गरेको सर्वेक्षणले भने यस वर्ष लन्डनमा घरजग्गाको भाउमा कमी आउने देखाएको छ।
स्रोत : फोब्र्स अनलाइन

अर्थ वाणिज्य

सिलिन्डरमा ‘तारले जेलिएको रबर पाइप’

- राजु चौधरी

काठमाडौं– सरकारले खाना पकाउने ग्यास सिलिन्डरमा ‘तारले जेलिएको रबर पाइप’ अनिवार्य लागू गर्ने भएको छ। पाइपका कारणले खाना पकाउने ग्यास लिक भई सिलिन्डर पड्कने, आगलागी दुर्घटना बढेपछि यस्तो तयारी थालेको हो। ‘व्यवसायीले प्लास्टिक पाइप बिक्री गर्छन्। सर्वसाधारणले पनि सोही पाइप ग्यास सिलिन्डरमा प्रयोग गर्दै आएका छन्। उक्त पाइप गुणस्तरहीन हुन्छ,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘सर्वसाधारणले गुणस्तरहीन पाइप प्रयोग गर्दा ग्यासबाट दुर्घटना बढेको हो।’ 

गुणस्तरहीन पाइप बिक्री निरुत्साहित गर्न एनएस चिह्न लागू गर्न लागेको उनले बताए। विभागका अनुसार पाइपसम्बन्धी मापदण्डको मस्यौदा तयार भइसकेको छ। उक्त मस्यौदा अब बस्ने गुणस्तर परिषद्को बैठकले पास गरेपछि क्याबिनेटमा पेस गरिनेछ। त्यसपश्चात राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइने उनले बताए। ‘ग्यास पाइपसम्बन्धी मापदण्ड अनिर्वाय थियो,’ महानिर्देशक पुडासैनीले भने, ‘अब एक दुई साताभित्रै परिषद्मा पेस गर्छौं। त्यसपछि राजपत्रमा प्रकाशित गरेर कार्यान्वयन हुन्छ।’ राजपत्रमा प्रकाशित भएपछि व्यवसायीले एनएस प्रमाणित मात्रै उत्पादन र आयात गर्न पाउनेछन्।

ग्यास बिक्रेताका अनुसार नेपालबाहेक अन्य मुलुकमा प्लास्टिकको पाइप प्रयोगमा प्रतिबन्ध लगाइएको छ। व्यवसायीले उत्पादन र खरिद गर्दा डिजेल पाइपको नाममा खरिद गर्छन्। त्यसपश्चिात ग्यास सिलिन्डर प्रयोजनमा बिक्री गर्दै आएको उनीहरू बताउँछन्। ‘प्लास्टिकको पाइप लेबल पाइप हो। लेबल पाइप गुणस्तरहीन भएकाले प्रतिमिटर २०/२५ रुपैयाँमा खरिद गरी उपभोक्तालाई १ सय रुपैयाँमा बिक्री गर्दै आएका छन्,’ ग्यास बिक्रेता महासंघका महासचिव चन्द्रबहादुर थापाले भने, ‘तर, रबर पाइप तारले जेलिएको हुन्छ। दुर्घटना धेरै न्यूनीकरण हुन्छ।’ उनका अनुसार रबर पाइप मापदण्डको आधारमा बनेको हुन्छ। खाना पकाउने ग्यासबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न मिल्दैन।

जानकारहरूअनुसार प्लास्टिक पाइप नेपालमै उत्पादन हुन्छ। केही व्यवसायीले आयात पनि गर्छन्। अब उत्पादन र आयात गर्दा गुणस्तर चिह्न अनिवार्य हुनुपर्नेछ। उपभोक्ताको जनचेतनाको कमीले गर्दा व्यवसायीले सोही पाइप बिक्री गर्दै आएका छन्। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले रबर पाइप मुसाले काट्न नसक्ने हुँदा धेरै सुरक्षित भएको बताए। ‘सेन्थेटिक रबर पाइपमा सुरुमा रबर त्यसपश्चात तार अनि पुन: रबरले बनाएको हुन्छ,’ अध्यक्ष अर्यालले भने, ‘मापदण्डअनुसार बनेको हुँदा मुसाले काट्न सक्दैन। आगोले पनि छिट्टै जल्दैन। थिचेर फुट्दैन।’

ग्यास पाइपसम्बन्धी मापदण्ड नहुँदा बजार अनुगमन तथा निरीक्षण हुन सकेको छैन। गुणस्तरहीन ग्यास पाइप छ्यापछ्याप्ती भेटिए पनि सम्बन्धित निकायको ध्यानाकर्षण नभएको उनीहरू बताउँछन्। ‘बजार अनुगमन र निरीक्षण गर्ने दायित्व आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो। गुणस्तरसम्बन्धी भने गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्नुपर्छ। तर, अति संवेदनशील मानिने ग्यासको पाइप सम्बन्धमा भने अनुगमन हुन सकेको छैन,’ राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिसिल्नाले भने, ‘यी दुई निकाय एक अर्कालाई देखाउँदै पन्छिएका छन्।’ खाना पकाउने ग्यासको प्रयोग गाउँ/गाउँमा विस्तार हुँदै गएकाले तारेले जेलिएको रबर पाइप’ अभियानका रूपमा लैजानुपर्ने उनले बताए। विभागका महानिर्देशक पुडासैनीले मापदण्ड जारी गरेपछि अनुगमन गर्ने बताए। ‘मापदण्ड नहुँदा अनुगमन हुन सकेको छैन। मापदण्ड राजपत्रमा प्रकाशित गरेपछि अनुगमन तीव्र बनाउँछौं,’ उनले भने, ‘गुणस्तर परिमाण चिह्न ऐनअनुसार गुणस्तरहीन सामान जफत गर्छौं। उत्पादन गर्ने कम्पनीविरुद्ध मुद्दा पनि दायर हुन्छ।’ विभागका प्राविधिक इन्जिनियर कृष्णबहादुर सोडारीका अनुसार मापदण्डको मस्यौदामा घरेलु र उद्योगकासम्बन्धी छुट्टाछुट्टै पाइप वर्गीकरण गरिएको छ।

पाइपमा लेबल, साइज, मूल्य अनिवार्य तोक्नुपर्छ। विभागका अनुसार हाल अधिकांश कम्पनीका सिलिन्डर कुच्चेका, रङ खुइलिएका,सिलिन्डरको मार्किङ लेबल स्पष्ट नभएका हुन्छन्। ग्यासमा अनिवार्य रूपमा हाइड्रोलिक/हाइड्रो स्टाटिक टेस्ट परीक्षण गर्नुपर्ने व्यवस्था भए पनि कम्पनीले परीक्षण नगरीकन बजारमा पठाउने गरेका छन्। सिलिन्डरमा सेफ्टी क्याप अनिवार्य गर्नुपर्ने व्यवस्था हुनुपर्छ। तर, अधिकांश ग्यास उद्योगले मापदण्ड विपरीत सञ्चालन गर्दै आएका छन्। जसले गर्दा ग्यास लिक भएर आगो लाग्ने, पड्कने सम्भावना उच्च हुन्छ।

Page 12
अर्थ वाणिज्य

पाटनमा प्रांगारिक कृषि मेला

ललितपुरको पाटन संग्रहालयमा शुक्रबारदेखि सुरु प्रांगारिक कृषि मेलामा अवलोकन गर्दै विदेशी। तस्बिर : प्रशान्त माली/कान्तिपुर

ललितपुर– पाटन संग्रहालयमा शुक्रबारदेखि चारदिने प्रांगारिक कृषि मेला सुरु भएको छ। कृषि विभाग र कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालय हरिहरभवनको सहयोगमा कञ्चनजंगा टी स्टेट एन्ड रिसर्च सेन्टर र केटीई फाउन्डेसनले अर्गानिक खेतीलाई प्रवद्र्धन गर्न मेला आयोजना गरेको हो। मेलामा ५० वटा स्टल छन्। इलाम, ताप्लेजुङ, पाँचथर, झापा, नुवाकोट, मकवानपुरलगायत अस्ट्ेरलियबाट मेलामा सहभागी छन्।

मेलामा चिया, कफी, तरकारी, अचार, प्रांगारिक मल, च्याउ, हर्बल, मसलालगायत फलफूल, बीउ बिजन, मह, तेलजस्ता कृषि उपज कसरी अर्गानिक रूपमा उत्पादन गर्न सकिन्छ भन्नेबारेमा जानकारी पाउन सकिन्छ। मेलाका लागि सरकारका तर्फबाट प्रतिस्टल ५ हजार रुपैयाँ उपलब्ध गराइएको आयोजकले जनाएको छ। मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले अर्गानिक खानेकुरामा मानिसहरूको आकर्षण दिन प्रतिदिन बढदै गएको बताइन्। ‘अर्गानिक खानेकुरा उपभोग गर्नेहरूको संख्या वृद्धि भइरहेको छ,’ उनले भनिन्, ‘तर, उपभोक्ताहरूको इच्छा हुँदाहुँदै पनि विषादीयुक्त उपजहरूको उपभोग गर्न बाध्य छन्।’

उनले यो मेलाले विषादीरहित अर्गानिक उत्पादनको जानकारी तथा उपभोगमा टेवा पुर्‍याउनमा विश्वास व्यक्त गरिन्। ‘सरकारले प्रांगारिक प्रमाणीकरणमा ५० प्रतिशत अनुदान दिँदै कृषि क्षेत्रमा थालेको शुद्धीकरण प्रयासको प्रशंसनीय छ,’ उनले भनिन्। राष्ट्रिय सहकारी संघको सभाकक्षमा शनिबार अर्गानिक कृषि विषयक अन्तर्राष्ट्रिय गोष्ठी हुनेछ। गोष्ठीमा अन्तर्राष्ट्रियविज्ञ प्रोफेसर जोन र पिटरबाट वैदिक कालदेखि गर्दै आएको जैविक प्रणालीका बारेमा जानकारी गराइने कञ्चनजंगा टी स्टेट एन्ड रिसर्च सेन्टरका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए। ‘हालको विज्ञान तथा प्रविधिद्वारा अनुसन्धान गरिएको विषयमा पनि छलफल हुनेछ,’ उनले भने।

अर्थ वाणिज्य

राराको हवाई भाडा घट्यो

- राजबहादुर शाही

मुगु– रारा विमानस्थलमा जहाज उडानको प्रतिस्पर्धाले भाडादर घटेको छ। तारा, गोमा र सीता एयरलाइन्सले नेपालगन्जदेखिको उडानमा भाडा दर घटाएका छन्। तारा एयरले नेपालगन्ज जान ४ हजार ५ सय भाडा लिँदै आएकामा हाल ४ हजार २ सय ८० रुपैयाँ लिन थालेको छ। यसअघि नेपालगन्जदेखि मुगु आउँदा सहुलियत दरमा ४ हजार ५ सय र कार्गोमा ९ हजार भाडा लिँदै आएकामा हिजोआज सहुलियत दरमा ४ हजार २ सय ८० र कार्गो दरमा ५ हजार रुपैयाँ कायम गरेको छ। रारा विमानस्थलबाट सुर्खेत जान ३ हजार ९० रुपैयाँ भाडा रहेको छ। त्यसैगरी गोमा एयरलाइन्सले रारा एयरपोर्टदेखि नेपालगन्ज जान ४ हजार ७ सय भाडा लिने गरेकामा हाल ४ हजार २ सय ८० कायम गरेको छ। नेपालगन्जबाट आउन सहुलियत भाडा ४ हजार २ सय ८० र कार्गोको भाडा दर ५ हजार लिन थालेका छन्। जहाजको प्रतिस्पर्धाले भाडा घट्न थालेपछि यात्रुलाई सहुलियत र सहज भएको छ।

जहाजको प्रतिस्पर्धाले भाडादरमा एकरूपता र केही घटेको गोमा एयरका स्टेसन इन्चार्ज महेन्द्र भामले बताए। रारा विमानस्थलमा दैनिक ५ देखि ६ वटा एयरलाइन्सले उडान भर्न गरेका छन्। धावनमार्ग कालोपत्रे भएपछि जहाजको प्रतिपस्र्धा हुन थालेको हो। नेपाल एयरलाइन्सले पनि सहुलियत दर ४ हजार ३ सयमा यात्रु बोक्दै आएको छ। उसको दुवैतिरका एउटै भाडादर छ।

रारा विमानस्थलमा भाडादर घटेको भन्दै एयरलाइन्सका कर्मचारीले यात्रु तान्न थालेका छन्। केही एयरलाइन्सका कर्मचारीले गमगढीमा कार्यालय खोलेर यात्रुलाई सहजताका साथ टिकट बिक्री गर्न थालेका छन्। सीता एयरले बुधबारदेखि यो विमानस्थलमा नियमित उडान गर्दै गमगढीमा हवाई टिकट वितरणको व्यवस्था गरेको छ। रारा एयरपोर्टमा तारा, गोमा, सीता र नेपाल एयरलाइन्सका उडान हुने भएका छन्।

अर्थ वाणिज्य

फक्सवेगन एक्सचेन्ज कार्निभल सुरु

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं – पूजा इन्टरनेसल नेपालले फक्सवेगन एक्सचेन्ज कार्निभल शनिबारदेखि सुरु गरेको छ। फक्सवेगनको बिक्री केन्द्र थापाथली र पानीपोखरीबाट जुनसुकै ब्रान्डका गाडीहरू पोलो, भेन्टो, बिटल र टिगुुअनसहितका मोडलसँग सट्टापट्टा गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार एक्सचेन्ज माघ १५ देखि ७ दिनसम्म चल्नेछ। कम्पनीले प्रत्येक गाडीको बुकिङमा हरेक दम्पतीलाई थाइल्यान्ड र एक जनालाई युरोप भ्रमण गराउने जनाएको छ।

अर्थ वाणिज्य

एनसेलको ‘नयाँ एसएमएस प्याक’

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं – एनसेल कम्पनीले ‘नयाँ एसएमएस प्याक’ योजना शुक्रबारदेखि सुरु गरेको छ । यस योजनाअन्तर्गत एनसेल नेटवर्कभित्र  ३ पैसा प्रतिएसएमएस पठाउन सकिनेछ। ग्राहकले ५ रुपैयाँमा १५० एसएमएस वा २५ मा १ हजार वटाको प्याक लिन सक्ने कम्पनीको जारी विज्ञप्तिमा उल्लेख छ। यो योजना माघ १४ देखि १५ दिनसम्म सञ्चालन हुने जनाइएको छ।

 

अर्थ वाणिज्य

सिटिजन्स र सीजी फिन्कोबीच सम्झौता

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल र सीजी फिन्कोबीच आन्तरिक विप्रेषण ‘रेमिट्यान्स’ कार।ेबारका लागि सम्झौता भएको छ।फिन्कोमार्फत प्राप्त रेमिट्यान्स बैंकको जुनसुकै शाखाबाट भुक्तानी पाइने जारी विज्ञप्तिमा छ। बैंकले यसअघिदेखि नै अन्य विप्रेषण कम्पनीसँग सम्झौता गरी आफ्ना शाखाहरूबाट भुक्तानी गर्दै आएको जनाएको छ।

अर्थ वाणिज्य

केबुलकारमा सहिद परिवारलाई छुट

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं – सहिद दिवसका अवसरमा माघ १६ र १७ गते चन्द्रागिरि हिल्स लिमिटेडको केबुलकारमा सहिद परिवारका परिचय प्राप्त सदस्यलाई ५० प्रतिशत छुटमा टिकट दिइने भएको छ। लिमिटेडले ७ सय पर्ने केबलकार टिकट ३ सय ५० मा दिने भएको हो। तर, टिकट खरिद गर्दा नेपाल सरकारबाट वितरित सहिद परिवार सदस्य परिचय पत्र अनिवार्य साथमै लिई आउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

 

Page 13
विदेश

मलेसियाले “ई–कार्ड” दिने

- कान्तिपुर संवाददाता

मलेसिया-मलेसिया सरकारले गैरकानुनी आप्रवासी कामदारहरू दर्ता गरी ई–कार्ड वितरण गर्ने भएको छ। मलेसियाले गैरकानुनी आप्रवासीलाई वैधानिकता दिनुअघि ‘इन्फोर्समेन्ट कार्ड’ भनिने ई–कार्ड नि:शुल्क उपलब्ध गराउनेछ। रोजगारदाताले अध्यागमन कार्यालयमा गई आफ्ना गैरकानुनी कामदारको विवरणसहित आवेदन दिएपछि त्यसका आधारमा त्यस्तो कार्ड कामदारलाई नि:शुल्क उपलब्ध गराइने अध्यागमन विभाग प्रमुख मुस्ताफर अलिलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

विभिन्न रोजगारी क्षेत्रमा कामदारको अभाव बढ्न थालेपछि मलेसियाले गैरकानुनी कामदारको संख्या घटाउन यसै वर्ष जनवरी १७ मा उनीहरूलाई अस्थायी श्रम स्वीकृति दिने घोषणा गरेको थियो।पटक पटक वैधानिकता हुने वा स्वदेश फिर्ने अवसर दिँदासमेत अझै पनि लाखौं आप्रवासी कामदार मलेसियामा गैरकानुनी अवस्थामा कार्यरत रहेको र त्यसमा हजारौंको संख्यामा नेपाली रहेको हुन सक्ने अनुमान छ। यो कार्यक्रम पूर्णरूपमा लागू भएमा हजारौं नेपाली लाभान्वित हुने अपेक्षा गरिएको छ। अध्यागमन विभाग प्रमुख अलिका अनुसार कार्डका लागि रोजगारदाताले आफ्ना कामदारको विवरणसहित आगामी फेब्रुअरी १५ देखि जुन १५ भित्रैमा विभागका कार्यालयहरूमा आवेदन दर्ता गराउनुपर्नेछ र उक्त कार्डको म्याद भने एक वर्षको हुनेछ। उक्त एक वर्षभित्रमा कामदारले आफ्नो मुलुकको दूतावासमार्फत राहदानी लिनुपर्ने हुन्छ।

यो कार्यक्रममा दर्ता भइसकेपछि करार अवधिभर रोजगारदाता परिवर्तन गर्न नपाइने, दर्ता हुन रोजगारदाता कालोसूचीमा नरहेको हुनुपर्ने, रोजगारदाताले आफ्नो कम्पनी र कामदारका आवश्यक कागजात एवं विवरणसहित कामदार स्वयंलाई लिएर अध्यागमन कार्यालयमा गई दर्ता गराउन सक्ने जनाइएको छ। कार्यक्रममार्फत कामदारले प्लान्टेसन, कृषि, औद्योगिक निर्माण, उत्पादन र सेवा क्षेत्रमध्ये कुनै एकमा काम गर्न पाउनेछन्। अर्थात् यी क्षेत्रमा काम गरिरहेका गैरकानुनी आप्रवासी कामदारले यो कार्यक्रममा भाग लिन पाउनेछन्। कामदारका लागि ‘रि–हाइरिङ कार्यक्रम’ कै नियम लागू हुने उल्लेख गरिएको छ। ‘जुन १५ पछि आवेदन लिने म्याद बढाइने छैन। कार्ड लिएको एक वर्षको अवधिभित्रै रोजगारदाताले स्वीकृतिका लागि सम्बन्धित दूतावासमार्फत आफ्ना कामदारको राहदानी झिकाइसक्नुपर्छ।’

विदेश

गभर्नरद्वारा राजीनामा

- एजेन्सी

नयाँदिल्ली – यौन दुव्र्यवहारको आरोप लागेपछि उत्तर–पूर्वी भारतीय राज्य मेघालयका गभर्नर भी सानमुगानाथनले पदबाट राजीनामा दिएका छन्।उनीमाथि उनकै विभागअन्तर्गतका दर्जनौं कर्मचारीद्वारा पदबाट हटाइनुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेपछि उनले राष्ट्रपति प्रणव मुखर्जीसमक्ष राजीनामा पेस गरे, जुन बिहीबार स्वीकृत भएको छ । ६८ वर्षीय गभर्नर सानमुगानाथनले गभर्नर कार्यालयलाई ‘किशोरीहरूको क्लब’ बनाएको र अवाञ्छित क्रियाकलाप गरेको आरोप लगाउँदै करिब ८० कर्मचारीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै निवेदन पठाएका थिए ।

विदेश

हिमपहिरोमा १४ भारतीय सैनिकको मृत्यु

- एपी

श्रीनगर – भारत अधीनस्थ कश्मीरका हिमालय क्षेत्रहरूमा अवस्थित भारतीय सैनिक चौकीहरूमा गएको हिमपहिरोमा परी ज्यान गुमाउने भारतीय सैनिकको संख्या १४ पुगेको छ। हिमालय क्षेत्र कश्मीरमा भारत र पाकिस्तान छुट्टाउने सीमा रेखामा उच्च स्तरमा सैनिक तैनाथ गरेको स्थानमा हिमपहिरोबाट प्रभावित भएको जनाइएको छ। चारजना भारतीय सैनिकको थप शव शुक्रबार निकालेपछि यो संख्या १४ पुगेको हो। भारतीय सैनिक कर्णेल राजेश कालियाका हिमपहिरो गएको स्थानहरूबाट बिहीबारबाट नै उद्धारकार्य सुरु गरिएको थियो। छुट्टाछुट्टै स्थानमा रहेको सैनिक चौकीहरूमा बुधबार रातिबाट गएको यस हिमपहिरोमा परी कम्ती २१ भारतीय सैनिक पुरिएका थिए। तीमध्ये ७ जनालाई भने जीवितै उद्धार गरिएको थियो।

विदेश

पुटिन र ट्रम्पबीच वार्ता हुने

- एएफपी

मस्को – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा शपथग्रहण गरेपछि पहिलो– पटक रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच शनिबार टेलिफोन वार्ता हुने सम्भावना भएको क्रेमलिनले जनाएको छ। यद्यपि रिया नोभोस्ती समाचार सेवाले शुक्रबार क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभ यी दुई नेताबीच शनिबार टेलिफोन वार्ता हुन सक्ने हो भनी सोधिएको प्रश्नमा उनले हो भन्ने जवाफ दिएको सीएनएनले बताएको छ।

Page 14
समाचार

आदेशबिनै ढालिए सल्ला

कात्तिकयता ठूलो परिमाणमा रूख ढालेका सामुदायिक वनले गत वर्षकै मौज्दात भन्दै वन कर्मचारीकै मिलेमतोमा फर्जी कागज तयार पारेका छन्
- मोहन शाही
डोटीको जोरायलस्थित मालिका सामुदायिक वनमा संकलित काठ । तस्बिर : मोहन/कान्तिपुर

जोरायल (डोटी)-जारायल क्षेत्रका तीन सामुदायिक वनमा ठूलो परिमाणमा सल्लाका रूख काटिएको पाइएको छ। ती वनमा अवैध प्रक्रियाबाट ढालिएका ११ हजार क्युफिक काठ भेटिएको छ।लक्ष्मीनगर ८ स्थित मालिका सामुदायिक वन पपिलकण्डे, सिद्धबाबा सामुदायिक वन थली र मसानी सामुदायिक वन नकुमा ती काठ फेला परेका हुन्। वन कर्मचारी, ठेकेदार र सामुदायिक वनका पदाधिकारीको मिलेमतो वनविनाश भइरहेको स्थानीयले आरोप लगाएका छन्। उनीहरूका अनुसार वन कर्मचारीले मौखिक सहमतिकै भरमा वनमा जथाभावी गर्न छुट दिएका छन्।तीनवटै वनले गत वैशाखमा कटानी आदेश पाएका थिए। आदेशअनुसार जेठ १५ भित्रै रूख काटिसक्नुपर्नेमा सामुदायिक वनले बर्खा लागेको भन्दै केही रूख मात्र काटेका थिए। चालु आवमा रूख काट्न थप म्याद माग्नुपथ्र्यो। तर, ठेकेदारले आफूखुसी सल्ला ढालेका हुन्।

कटानी आदेश दिएको १० महिना बित्दा पनि जिल्ला वन, सेक्टर कार्यालयले त्यस क्षेत्रमा अनुगमन नगर्दा तस्करको मनोबल बढेको छ। चालु आवमा पीपलकण्डेमा ४ हजार क्युफिट काठ काटिएको छ। स्थानीय महावीर ओलीले ती सबै रूख एक महिनायता काटिएको बताए। सल्लाका गोलिया तुडेपानी, जगेनाखोला, राकसताल र कोपेमा थुपारेर राखिएको छ। सामुदायिक वन पदाधिकारीले २ हजार १ सय क्युफिट काठ गत वर्षकै रहेको र बाँकी एक महिनायता काटिएको जानकारी दिए। ‘सुकेका, ढलेका र कुहिएका रूख मात्र काटेका हौं,’ मालिकाका अध्यक्ष हर्कबहादुर रावलले भने, ‘समुदायबाट निर्णय गराएका छौं, इलाका वनलाई पनि फोनबाट जानकारी दिएकै हौं।’

सिद्धबाबामा पनि १२ सय क्युफिट काठ फेला परेको छ। केही काँचा रूख पनि काटिएका छन्। वनले स्थानीयलाई ज्यालामजदुरी दिने सर्तमा रूख काट्न लगाएको थियो। काटिएका गोलिया गणेशसाल थलीमा थुपार्ने काम भइरहेको छ। उक्त सामुदायिक वन अध्यक्ष ऐनबहादुर रोकामगरले समुदायको निर्णय गराएर गत वर्ष आदेश पाएका रूख मात्र यस वर्ष काटिएको बताए। ‘प्रक्रियाबारे थाहा नभएकाले समुदायमै निर्णय गरी रूख काटेका हौं,’ उनले भने, ‘अन्जानमा गल्ती भएको महसुस गरेका छौं।’ रोकामगरका अनुसार गत जेठमा काटिएका रूख डढेलोले नष्ट भएकाले त्यसलाई पनि पूर्ति गर्ने गरी थप रूख काट्ने तयारी छ। सबैभन्दा बढी कटानी आदेश पाएको मसानी सामुदायिक वनले पनि प्रक्रिया पूरा गरेको छैन। ६ हजार क्युफिट काठ काटिएको छ। अहिले पनि कटानी जारी रहेको स्थानीयले आरोप लगाए। सामुदायिक वनका अध्यक्ष बालासिंह बोहरा गाउँबाहिर रहेकाले भेटिएनन्।

कागजात किर्ते
सामुदायिकका अध्यक्ष र वन कर्मचारीले फर्जी कागजात तयार पारी अनियमितता गरेको फेला परेको छ। गत वैशाख १५ मा इलाका रेन्जपोस्ट बुडरले मालिकालाई ४ हजार १ सय ६७ क्युफिट, सिद्धबाबालाई १ हजार २०७ र मसानीलाई ६ हजार ४ सय क्युफिट कटानी आदेश दिएको थियो। मालिकाले ४ हजार १ सय ५०, सिद्धबाबाले १ हजार १ सय ७६ र मसानीले ५ हजार ८ सय ६६ क्युफिट काठ काटेको भन्दै गत जेठ १५ गतेको मिति राखेका छन्। जबकि ती सबै काठ पछिल्लो एक महिनामा काटिएका हुन्। इलाका रेन्जपोस्ट बुडरका वन रक्षक नरबहादुर साहु र अध्यक्षहरूले संयुक्त रूपमा कटानी रजिस्टरमा हस्ताक्षर गरेका छन्। अनुुसूची ८ दफा १७ को उपदफा ३ सँग सम्बन्धित कटान रजिस्टर शीर्षक दिएर उठाइएको लगतमा इलाका रेन्जपोस्ट बुडरका प्रमुख सच्चिदानन्द सिंहले समेत हस्ताक्षर गरेर प्रमाणित गरेका छन्। वन अध्यक्षहरूले बढीजसो रूख कात्तिकपछि ढालिएको स्वीकारे पनि झूटो विवरणमा हस्ताक्षर गरेको बारे भने प्रतिक्रिया दिएनन् गत जेठमा काटेर जंगलमै छाडेपछि डढेलो र पानीले नाश भएका काठ परिपूर्ति गर्न नक्कली कागजात तयार पारेर मनोमानी रूख काट्ने योजना बनेको स्रोतले जनाएको छ। मालिकाका अध्यक्ष हर्कबहादुर रावलले गत वर्ष आदेश पाएको मध्ये २ हजार १ सय क्यूफिट काठ मात्र जेठ १५ भित्र काट्न सकेको स्वीकारे।
वन उपभोक्ता महावीर ओलीले बैठकमा अवैध रूपमा रूख काट्न नहुने भन्दा आफूलाई अल्पमतमा पारिएको बताए। सामुदायिक वन उपभोक्ता समिति सदस्य रहेका मोतीलाल ओलीले पनि थप रूख कटानसम्बन्धी बैठकमा आफूले असहमति जनाउँदाजनाउँदै निर्णय गरिएको जानकारी दिए। ‘गाउँमा विरोध गरेकामा हामी असुरक्षित छौं,’ उनले भने, ‘वन संरक्षण गर्नुभन्दा रूख काट्ने नाममा भ्रष्टाचार मात्रै बढेको छ।’

फितलो अनुगमन
ठूलो परिमाणमा रूख काटिए पनि वन कार्यालयका कर्मचारी उक्त क्षेत्रमा अनुगमनमै जाँदैनन्। वनका प्रतिनिधिकै रोहबरमा रूख काटिनुपर्छ। तर, उनीहरू एकैचोटि रूखमा टाँचा लगाउन मात्रै आएको स्थानीयले आरोप लगाए। स्थानीय क्षेत्र खड्का, सुरत रावल र महेन्द्र थापाको संयुक्त लगानीमा मजदुर लगाएर रूख ढाल्ने र ओसार्ने काम भइरहेको छ। जबकि सडक राजमार्गको मुखैमा इलाका रेन्जपोस्ट र सेक्टर वन कार्यालय छन्। यसबारे जिल्ला वन कार्यालयले भने अनभिज्ञता दर्शाएको छ। जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले अवैध तरिकाले रूख काटिएको भन्दै पत्रकार गाउँ पसेपछि मात्र चासो गएको बताए। ‘यथार्थ बुझ्न कर्मचारी खटाएको छु, आवश्यक कागजात र प्रमाण जिल्लामा झिकाएको छु,’ उनले भने।

समाचार

महँगीको मारमा भूकम्पपीडित

- अनिश तिवारी

सिन्धुपाल्चोक– आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ पाएपछि पुनर्निर्माणमा जुटेका भूकम्पपीडित एक्कासि निर्माण सामग्रीको भाउ बढेसँगै मारमा परेका छन् । महँगोमा निर्माण सामग्री किने पनि कच्ची सडकका कारण ती सामान गाउँमा पुर्‍याउँदा लागत दोब्बर पर्ने देखिन्छ ।
रड, सिमेन्ट, गिट्टी र बालुवाका साथै सबै निर्माण सामग्रीमा अस्वाभाविक मूल्य वृद्धि भएको छ । रड प्रतिकिलोग्राम एक वर्षअघि ६७ रुपैयाँ थियो अहिले प्रतिकेजी १० रुपैयाँ बढेको छ । सिमेन्ट बोराको सात सय पथ्र्यो भने अहिले आठ सय तिर्नुपरेको छ । इन्धनको मूल्यसँगै निर्माण सामग्री ढुवानीमा भाडा बढेको हो । निर्माण सामग्रीको भाउ बढेको बाह्रबिसेका मनोज हार्डवेयरका मनोज गिरीले बताए ।

विद्युत् महसुल र इन्धनमा मूल्य वृद्धि भएपछि व्यवसायीले एक ट्रिप गिट्टीको १४ हजार रुपैयाँसम्म लिने गरेका छन् । ‘माग धेरै भएकाले सजिलैपाउन हम्मे पर्छ,’ सन्तोष श्रेष्ठले भने, ‘आफूलाई चाहिने भएपछि जति परे पनि किन्नैपर्‍यो ।’ कैयौंले आर्थिक अभावका कारण अझै आवास निर्माण सुरु गरेका छैनन् ।

बाढीले तहसनहस बनाएको तातोपानी, फुल्पिङकट्टीका गरी नौ सय परिवारले घर बनाउन सुरु गरेका छन् । पिस्कर, मार्मिन, गाती, कर्थली र घोर्थलीका भूकम्पपीडितले निर्माण सामग्री लैजान दोब्बर मूल्य पर्ने भएपछि निर्माण कार्य थालेका छैनन् । बाह्रबिसे, राम्चे जस्ता सुगम स्थानमा चार सय भूकम्पपीडितले घर बनाएका छन् भने माखा, फुल्पिङकोट, जलवीरे, बराम्चे, फुल्पिङडाँडामा हजारभन्दा बढी घर निर्माणाधीन अवस्थामा छन् ।

सहरी डिभिजन कार्यालयको तथ्यांकअनुसार दुर्गम भेग गोल्चेमा १४, गुम्बामा ४० र पाङताङमा ३९ घर बनिरहेका छन् । पहिलो किस्ताबापत पाएको पचास हजारले आवास नबन्ने भएपछि आर्थिक अभावमा पुनर्निर्माणको काम अगाडि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त प्रमुख टंक गौतमले बताए ।

‘दोस्रो किस्ता तत्काल’
काभ्रे– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ डा. गोविन्द पोखरेलले आवास अनुदानको दोस्रो किस्ता तत्काल दिइने बताएका छन् । यसका लागि लागि ११ अर्ब ७५ करोड ५० लाख निकासा भइसकेको उनको भनाइ छ । उनले धुलिखेलमा केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई उक्त रकम पठाइसकेको जानकारी दिए । ‘अख्तियारी पठाइसकेको छ,’ उनले भने, ‘जिविसमा पठाएसँगै दोस्रो किस्ता वितरण हुन्छ ।’

चिसोले बिजोग
नुवाकोट– चिसोका कारण पीडितको जनजीवन कष्टकर बनेको छ । उनीहरू टहरामा गुजारा चलाइरहेका छन् । चिसो बढेपछि बाहिर निस्कन समस्या भएको समुद्रटारका राजु पण्डितले बताए । चिसोले बालबालिका र वृद्धवृद्धालाई कठिन भएको साल्मे ७ घलेगाउँका कृष्णमान घलेले बताए । जिल्लाको भाल्चे, किम्ताङ डाँडा, शिखरबेंसीको डाँडा, गाउँखर्कको कँडेनी, घ्याङफेदीको राउचुली र साल्मेको उच्च डाँडामा हिमपात भएको हो ।

समाचार

लोठसल्लो वनमै अलपत्र

- कुम्भराज राई

ओखलढुंगा– बहुमूल्य जडीबुटीको रूपमा लिइने लोठसल्लो जिल्लाको उत्तरी गाविसका वनजंगलमै अलपत्र परेको छ। उचित व्यवस्थापनसहित निकासी गर्न नसक्दा ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ जस्तो भएको हो।केही जडीबुटी कम्पनीले लोठसल्लो लाने भनेर वन समूहलाई संकलन गर्न लगाएको भए पनि लग्न सकेका छैनन्। पोकली ९ को मेहेले दुब्ले सामुदायिक वन र श्रीचौर ९ स्थित नमुना तीनतले सामुदायिक वन समूहमा करिब ५ टन लोठसल्लो संकलन गरिए पनि सम्बन्धित कम्पनीले नलगेको इलाका वन कार्यालय खिजीफलाँटेका अधिकृत गणेशबहादुर कटवालले बताए। माछापुच्छ्रे हर्बल प्रालि नामक कम्पनीले संकलन गर्न लगाए पनि नलगेको हो।

३ हजार ८ सय किलो लोठसल्लाको पात संकलन गरेको भए पनि संकलन गर्न लगाउने कम्पनीले नलगेपछि थन्किएर बसेको मेहेले दुब्ले सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर तामाङले बताए। ‘कटिङसहित प्रतिकिलो ५२ रुपैयाँ दिन्छौं भनेर हामीले दुई वर्षअघि नै संकलन गरेका थियौं,’ उनले भने, ‘तर अहिलेसम्म लिन आएनन्। हामी फाल्ने कि राख्ने अवस्थामा पुगेका छौं।’

क्यान्सरको औषधिमा प्रयोग गरिने भनिएको लोठसल्लाको पातको राजस्व नै प्रतिकिलो २५ रुपैयाँ तिर्ने नियम छ। गैरकाष्ठ वन पैदावारअन्तर्गत लिइने लोठसल्लाको पात र सलाइँको काँटी जत्रो आकारसम्मको डाँठसमेत बिक्री हुने गर्छ। सामुदायिक वन मात्र नभएर निजी वनमा समेत पाइने लोठसल्लालाई व्यवस्थित गर्न सकेमा व्यावसायिक रूपमै आम्दानी गर्न सकिने श्रीचौर ६ स्थित जाल्पादेवी सामुदायिक वनका हर्क सुनुवारले बताए। इलाका वन अधिकृत कटवालले भने जडीबुटी कम्पनीबीचमा पनि राजनीतिक प्रतिस्पर्धा र प्रतिशोधको कारण देखाउँदै निकासी गर्न नसकेको बताए।

जिल्लाका विभिन्न गाविसमा रहेका सामुदायिक वन समूहले गत वर्ष मात्रै गैरकाष्ठ वन पैदावारअन्तर्गत चिराइतो, नागबेली पिठो, अर्गेली, मछिनो तेल, साधारण च्याउ, सतुवा जरा र लोक्ता निकासी गरेको थियो। निकासीबापत वन समूहले कुल २ लाख ३२ हजार ५ सय २५ रुपैयाँ आम्दानी गरेका थिए। राजस्वबापत जिविस कर ४२ हजार ९ सय ९६ रुपैयाँ संकलन भएको थियो।

समाचार

कोरलामा बस्ने भो सेना

- विनोद त्रिपाठी

मुस्ताङ– नेपाली सेनाले चीनको सिमाना कोरला नाका नजिकै ब्यारेक राख्न गरेको गृहकार्य एक वर्षपछि आएर सफल हुने देखिएको छ । मन्त्रिपरिषद् बैठकले कोरलामा सेनाले राख्ने ब्यारेकका लागि चाहिने जग्गा स्वीकृत गरेको भूमिसुधार मन्त्रालयले जनाएको छ।‘एक वर्षदेखि रोकिएको फाइल मैले नै मन्त्रिपरिषद् पठाएर शुक्रबार स्वीकृत भइसकेको छ,’ भूमिसुधार मन्त्री विक्रम पाण्डेले फोनमा भने, ‘अब सेनाले आफूलाई चाहिने जग्गा प्राप्त गर्नेछ।’ जग्गा नापजाँचका लागि मन्त्रालयबाट केही कर्मचारीसहित तुरुन्तै नापी कार्यालय मुस्ताङबाट टोली पठाउने तयारी भएको उनले बताए।
मन्त्री पाण्डेका अनुसार सेना, सशस्त्र, प्रहरी, क्वारेन्टाइन, भन्सार लगायतका सरकारी अड्डा राख्न चाहिने जग्गासमेत मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

गत वर्ष माघको अन्तिम साता सेनाले मुस्ताङ नापी कार्यालयबाट कर्मचारी लिएर जग्गाको रेखांकन गरिसकेको थियो। लोमान्थाङस्थित तल्लो समथर भूभागमा रहेको हजार रोपनी रेखांकन गरिएको मुस्ताङस्थित भीमदल गणले जनाएको छ। ब्यारेक रहने स्थान कोरलाबाट २५ किमि वर हुनेछ। त्यसैगरी, सशस्त्र प्रहरीका लागि सय, भन्सार (सुख्खा बन्दरगाहसहित) का लागि डेढ सय, प्रहरीका लागि ५० रोपनी जग्गा गत वर्ष नै रेखांकन भइसकेको छ। रेखांकित जग्गालाई नापजाँच गरेर पुन: भूमिसुधार मन्त्रालय पठाउनुपर्ने नापी कार्यालयले जनाएको छ।

गत वर्ष भारतको नाकाबन्दीसँगै उत्तरतर्फको नाका खोल्न गरिएको प्रयासअन्तर्गत जिल्ला प्रशासन कार्यालय मुस्ताङले कोरला सिमानामा सुरक्षा अंग राख्न रक्षा र गृहमन्त्रालयलाई पत्राचार गरेको थियो। सोहीबमोजिम सैनिक मुख्यालयले गत वर्षको माघमा भीमदल गणलाई आवश्यक जग्गा अवलोकन गर्न तत्कालीन गणपति अर्जुन बस्नेतको नेतृत्वमा सैनिक टोली कोरला पठाएको थियो। ‘ब्यारेक राख्ने प्रयास बल्ल साकार हुने भयो,’ सैनिक प्रवक्ता ताराबहादुर कार्कीले टेलिफोनमा कान्तिपुरसँग भने, यो हाम्रो वर्ष दिनदेखिको थालनी हो।’ अब सिमाना सुरक्षार्थ नेपाली सेना कोरलामा बस्ने उनले बताए। कोरलामा सेना बस्न रेखांकन गरिएको सरकारी जग्गाको फाइल भूमिसुधार मन्त्रालयमा एक वर्षदेखि रोकिँदा ब्यारेक राख्ने काम सुरु हुन सकेको थिएन। मन्त्रालयले रेखांकन भएको जग्गा प्रक्रिया पुऱ्याएर मन्त्री परिषदमा पठाउन आलटाल गर्दै आएको थियो।

सदरमुकाम जोमसोममा भीमदल गण र उच्च शिखर शिक्षालयमा २ हजार सेना बस्ने गर्छन्। भीमदल गणले आफ्नो एउटा टुकडीलाई लोमान्थाङ सार्ने प्रस्ताव रक्षा मन्त्रालय र सैनिक मुख्यालयमा गत वर्ष नै पठाएपछि कोरला नजिक ब्यारेक राख्न स्वीकृत भइसकेको छ। कोरला नाकालाई दिर्घकालीन रूपमा खुलाउन चीनका स्थानीय सुरक्षा अधिकारीले नेपालतर्फ सुरक्षा अवस्था मजबुत बनाउन आग्रह गर्दै आएका छन्।ब्यारेक बस्ने क्षेत्र उपल्लो मुस्ताङको प्रमुख व्यापारी केन्द्र नजिक पर्छ। चीन सरकारले आफ्ना सेनालाई कोरला नाकाभन्दा केही पर मात्र राखेको छ। सिमानाका गतिविधिबारे जानकारी लिन चीनले सीसी क्यामेरासमेत जडान गरेको छ। चीनको उपस्थिति सिमानामा भएकाले नेपालको तर्फबाट पनि ब्यारेक राख्न धेरै पटक माग उठेको थियो।

सिमानामा नेपालको सुरक्षा अंगको उपस्थिति शून्य हुँदा कोरला नाकामा नेपालीको चहलपहल खासै हुन सकेको थिएन। सेनाको हाल एक गुल्म बराबरको संख्यामा राख्ने तयारी छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएको पत्र रक्षामार्फत सैनिक मुख्यालयमा आएपछि ब्यारेक राख्न तयारी सुरु हुने प्रवक्ता कार्कीले जानकारी दिए। नाकामा सुरक्षा अवस्था मजबुत बनाउन गत वर्ष नै सरकारले बोर्डर आउट पोस्ट (सीमा सुरक्षा सशस्त्र बल) र सेना राख्ने निर्णय गरेको थियो।

Page 15
खेलकुद

उपाधि होडमा मनाङ र सहारा

- भीम घिमिरे

पोखरा-पोखरा रंगशालालाई व्यावसायिक खेलाडीले भरपूर टिम लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीले ‘होम ग्राउन्ड’ नै मान्छ। तर, यसपल्ट उसको विपक्षी आयोजक सहारा क्लब रैथाने टिम हो।आहा–रारा गोल्डकपको दोस्रो, तेस्रो, १० औं र १४ औं संस्करण विजेता मनाङको यसपल्ट आयोजकसँग भिडन्त छ। शनिबार हुने फाइनल सहारासँग मनाङको आहा(रारा उपाधि भिडन्तमा दोस्रो भेट हो। १२ औं संस्करणमा सहाराले मनाङलाई १–० ले पराजित गरेको थियो। आफ्नै आयोजनामा प्रतियोगिताको फाइनल पुग्नु सहाराका लागि भने यो तेस्रो अवसर हो। ११ औं संस्करणमा सहारा फाइनलमा थ्री स्टारसँग ०(१ ले हारेको थियो। प्रतियोगितामा यसपल्ट थ्री स्टार सहभागी थिएन।

यसपालि सुदूरपश्चिम–११ लाई ४–०, युनाइटेड सिक्किमलाई टाइब्रेकरमा ४–२ र सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई पनि टाइब्रेकरमा ४–३ ले हराएर सहाराले फाइनल यात्रा तय गरेको हो। बंगलादेशमा खेल्ने तयारीमा रहेको मनाङ क्लब धरानलाई ४–१ र संकटालाई १–० ले हराएर उपाधि नजिक आइपुगेको हो। शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरूङले यसपालिको प्रतिद्वन्द्वी कमजोर नभएको बताए। ‘योपल्ट सहाराको टिम राम्रो छ तर, हामी पनि सेट टिम छौं,’ उनले भने, ‘पहिलो हाफमै गोल निकाल्ने रणनीतिसाथ खेल्छौं।’

यस वर्ष हेटौंडा र धनगढीमा भएका प्रतियोगितामा सहाराको खेल हेरिसकेकाले टक्कर दिन गाह्रो नहुने उनको भनाइ थियो। ‘१२ औं संस्करण हाम्रो भेट भएकै हो तर, यसपल्ट दुवै टिमका खेलाडी फरक छन्,’ उनले भने, ‘खेलमा स्कोर कतिखेर निस्कन्छ भन्ने भरोसा हुँदैन तैपनि हामी पूर्ण रूपले उपाधि रक्षा गर्न केन्द्रित हुन्छौं।’ मनाङका कप्तान अनिल गुरूङ पनि अलि ढुक्क देखिए। ‘खेल प्रशिक्षकले भनेको टेक्निकले खेल्ने हो,’ उनले भने, ‘खेल फाइनल जस्तो हुनुपर्छ, हामीलाई प्रेसर छैन।’

यता सहारा भने सेमिफाइनलमा एक डिफेन्डरले रातो कार्ड पाएका कारण खेलाडी तयारीमा लागेको छ। प्रशिक्षक किरण श्रेष्ठले यसपल्ट फाइनलमा हेमन्त गुरूङ र मनबहादुर तामाङलाई पनि समावेश गरिएको बताए। ‘मनाङ राम्रो टिम हो तर, हामीले पनि यसै प्रतियोगितालाई भनेर राम्रो तयारी गरेका छौं,’ उनले भने, ‘हामी अनुशासित भएर डिफेन्सिभ खेल्छौं।’ यसपल्ट टिममा धेरै नयाँ खेलाडी भए पनि हालसम्मको प्रदर्शन उत्साहजनक रहेकाले फाइनल प्रतिस्पर्धामा सहारा कमजोर नहुने उनको दाबी थियो। ‘हामी आत्तिएका छैनौं,’ उनले भने, ‘मनाङमा राष्ट्रिय खेलाडी धेरै छन्, स्ट्रोङ टिम भनेर गेम लुज छाड्दैनौं। आफूसँग जे छ त्यसैले राम्रो परिणामका लागि खेल्ने हो।’विजेताले ५ लाख र उपविजेताले २ लाख ५१ हजार नगद पुरस्कार जित्नेछन्। शुक्रबार आयोजक सहाराले पुराना खेलाडीबीच मैत्रीपूर्ण फुटबल खेलाएको छ।

खेलकुद

कथा दिदीबहिनीबीचको टक्कर

- क्रिस्टोफर क्लेरी

मेलबर्न– दिदीबहिनीबीचको प्रतिस्पर्धा, सायद टेनिसमा अस्ट्रेलियन ओपनबाटै सुरु भएको थियो। जति बेला विलियम्स दिदीबहिनी सन् १९९८ मा एकआपसविरुद्ध खेलेका थिए। त्यसमा दिदी भेनसले बहिनी सेरेनालाई ७(६, ६(१ ले हराएको थियो। दुवैले पहिलोपल्ट अस्ट्ेरलियन ओपन खेलिरहेका थिए। यो दोस्रो चरणको खेलले खुबै चर्चा बटुलेको थियो। त्यो खेलपछि न्युयोर्क टाइम्सले आफ्नो फ्रन्ट पेजमा उनीहरूको तस्बिर पनि छाप्यो, खुबै महत्त्व दिएर। 

शनिबार यिनै दुई दिदीबहिनी महिला एकलको फाइनलमा भिड्दै छन्। सायद यति माथिल्लो चरणमा उनीहरूले खेल्न थालेको यो अन्तिम पटक हुनेछ। त्यसैले यो खेलको चर्चा कसरी कम हुनसक्छ र? लामो समयदेखि यी दुई विलियम्स दिदीबहिनीले महिला टेनिसलाई एउटा दिशा दिएका छन्। त्यो पहिलो खेलयता १९ वर्ष बिते। सेरेना ३५ वर्षकी भइन्। भेनस भने ३६ वर्षकी। त्यसैले पनि उनीहरू फेरि भिड्नेमा प्रश्न उठेको हो।

‘भेनसले जति बेला सेमिफाइनल जितिन्, उनले मनाएको खुसी देख्दा लाग्थ्यो, उनी भर्खर ६ वर्षकी भइन्। यस्तो दृश्य हेर्दा कसले मात्र खुसीको आँसु रोक्न सक्छ?’ म्यारोन बारटोली भन्थिन्। उनी पूर्व विम्बल्डन विजेता हुन्। ‘यो वास्तवमै निकै शक्तिशाली दृश्य पनि थियो। यस्तोमा केही प्रश्न उठ्नु स्वाभाविक पनि छ। साँच्चै उनीहरूले के संन्यासबारे सोचेका होलान्? खेल्ने क्रम जारी राख्ने हो भने पनि कसरी सम्भव होला?’
तर संन्यास कहिले लिने हो त्यस्तो निर्णय तिनै विजेता खेलाडीलाई छोड्नुपर्छ। वास्तमै भेनस र सेरेना दुवै महान विजेता हुन्। सेरेना केही बढी सफल रहिन्, उनको नाममा २२ ग्रान्ड स्लाम उपाधि छ। लामो समय उनी नम्बर १ खेलाडी रहिन्। शनिबार जितिन् भने उनी फेरि नम्बर १ खेलाडी हुनेछिन्, जर्मन खेलाडी एन्जेलिक केरबेरलाई उछिनेर। सेरेनाले ३० वर्ष नाघिसेपछि धेरै जित्न थालेकी थिइन्। सन् २०१६ मा उनी केही दिन टेनिसबाट टाढा रहिन्, केही समय आफ्नो लय गुमाएपछि।

अहिले त्यसले काम गरेको छ। फाइनल पुग्ने क्रममा जत्तिकै बलियो चुनौतीबीच उनले एक सेट पनि गुमाएकी छैनन्। उनले भर्खरै एलेक्स ओहानियनसँग ‘इन्गेजमेन्ट’ पनि गरेकी छिन्।। सायद उनी २३ औं ग्रान्ड स्लाम उपाधिका लागि बढी हकदार देखिन्छिन्। यस्तो भएमा उनले आधुनिक टेनिसमा स्टेफी ग्राफलाई पनि उछिन्ने छिन्, बढी ग्रान्ड स्लाम जितेको कीर्तिमानमा। सेरेनाको तुलनामा भेनसले फाइनलसम्म तय गरेको यात्रा केही सजिलो देखिन्छ।

दुई खेलाडीबीच तुलना गर्ने हो भने सेरेना १६–११ जितले अगाडि छिन्। तर फाइनललाई लिएर भेनसको फरक मत छ। उनी भन्छिन्, ‘जति बेला कोर्टमा सेरेनाको सामना गर्छु, म त्यसलाई सबैभन्दा कठिन चुनौतीका रूपमा हेर्छु। तर म पनि कहाँ खराब छु र? जस्तै प्रतिद्वन्द्वीको सामना गर्न पनि म तयार छु। जस्तै स्थितिमा पनि म उत्तिकै कठिन चुनौती पेस गर्न सक्षम छु।’ सन् २०१५ को यूएस ओपनका क्रममा उनीहरूले अन्तिम पटक एकआपसविरुद्ध खेलेका थिए।

त्यो सेरेनाले जितेकी थिइन्। भेनस पनि पूर्व नम्बर खेलाडी हुन्। उनले पनि सात ग्रान्ड स्लाम जितेकी छन्। सन् २०११ यता उनले खासै राम्रो खेल्न सकेकी छैनन्, खराब स्वास्थ्य स्थितिका कारण। तर फेरि कोर्टमा फर्केयता उनको चुनौती पनि कमजोर देखिन्न। उनीहरू पहिलोपल्ट कोर्टमा उत्रिँदा १६ र १५ वर्षका थिए। अहिले परिपक्व महिला भइसकेका छन्। यस्तोमा यी विलियम दिदीबहिनीले सिद्ध गरेका छन्, जति बेलासम्म नतिजा हातमा हुन्न, कसले जित्ने हो भन्न सकिन्न।
न्युयोर्क टाइम्स

खेलकुद

नाडल फाइनलमा

- एएफपी

मेलबर्न – राफेल नाडलले अस्ट्ेरलियन ओपनको फाइनलमा आफ्ना पुराना प्रतिद्वन्द्वी रोजर फेडेररको सामना गर्ने भएका छन्। नाडलले पाँच सेटको कडा प्रतिस्पर्धामा ग्रिगर डिमिट्रोभलाई पाँच घन्टा समय लगाएर हराए। बुल्गेरियाली खेलाडीविरुद्ध नाडालले पाएको यो जित उत्कृष्ट मानिने छ। रड लेभर एरिनामा नाडलको जितको अन्तर भने ६–३, ५–७, ७–६ (७/५), ६–७ (४/७), ६–४ रह्यो। 

अन्तिम तथा पाँचौं सेटको नवौं गेममा ०–३० ले पछाडि रहेर पनि नाडलले उत्कृष्ट पुनरागमन गरे। त्यसलाई ५–४ ले आफ्नो पक्षमा पारे। त्यसयता डिमिट्रोभले दुई म्याच प्वाइन्ट बचाए पनि नाडललाई जितबाट भने रोक्न सकेनन्। जितपछि नाडलले आफ्नो पारम्परिक शैलीमा कोर्टमा घुँडाले टेके र खुसी प्रकट गरे। नाडलले फाइनलमा फेडेररलाई सामना गर्न पाउनु गर्वको पक्ष भएको बताए। २००९ को यसकै फाइनलमा नाडलले फेडेररलाई हराएका थिए।

खेलकुद

आर्मी फेरि च्याम्पियन

- कान्तिपुर संवाददाता
सर्वोत्कृष्ट खेलाडी हुँदै प्राप्त पुरस्कारका साथ आर्मीका मानबहादुर श्रेष्ठ ।

काठमाडौं – त्रिभुवन आर्मी क्लबले लगातार दोस्रोपल्ट प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।लगनखेलस्थित सेनाको शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा शुक्रबार फाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई २५–२३, २५–२३ २५–१७ को सोझो सेटमा हराउँदै उपाधि रक्षा गरेको हो। अघिल्लो वर्ष पनि आर्मीले पुलिसलाई हराएर पहिलो संस्करण जितेको थियो। युवा खेलाडीको प्रदर्शनमा आर्मीले प्रतियोगिताभर एक सेट गुमाएन।

आर्मी टिम प्रशिक्षक जगदीश भट्टको प्रशिक्षणमा उत्रेको थियो। उनी उत्कृष्ट प्रशिक्षक भए। आर्मीकै मानवहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिए। उनले पल्सर मोटरसाइकल पुरस्कार पाए। आर्मीका धनबहादुर भट्ट बेस्ट स्पाइकर, कप्तान हरिहजुर थापा बेस्ट ब्लकर र ईश्वर थापामगर बेस्ट डिफेन्स भए। नेपाल पुलिसका कप्तान इम राना मगर बेस्ट सेटर भए। विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले समान १० हजार पुरस्कार पाए। आर्मीले.३ लाख र पुलिसले १ लाख ५० हजार तथा तेस्रो स्थानको विजेता पश्चिमाञ्चल भलिबल संघले ७५ हजार नगद पुरस्कार पाए।


पुरानालाई सम्मान
समापनमा नेपाली सेनामा कार्यरत रहँदा सन् १९७७ मा चीनमा आयोजित एसियन भलिबलमा सहभागी विजयविक्रम खड्का र अक्कलबहादुर चन्द लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।

भारतको नयाँ दिल्लीमा हुने दोस्रो टी–२० नेत्रहीन विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली टिम शुक्रबार बिदाइपछि । तस्बिर : कान्तिपुर

खेलकुद

माल्दिभ्समाथि नेपालको जित

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं– महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियन सेन्ट्रल जोनको छनोट खेलमा शुक्रबार नेपालले विजय पाएको छ। नेपाली महिला टिमले शुक्रबार आयोजक माल्दिभ्सलाई २५–१७, २५–१७, २५–१३ ले हरायो। तीन टिम सहभागी सेन्ट्रल जोनमा नेपालले शनिबार इरानसँग खेल्नेछ।

खेलकुद

मैदान निर्माणलाई ४ लाख सहयोग

छोटकरी
- कान्तिपुर संवाददाता

उदयपुर – दुगर्म पंचावती गाविसको चार स्थानमा खेलकुद विकासका लागि एक व्यक्तिले आर्थिक सहयोग गरेका छन्। काठमाडौंलाई कर्मक्षेत्र बनाएका अमृतध्वोज राईले पंचावती गाविसका मौवासी, उदयपुरगढी, नेपालटार र केउरेनीमा सुविधासम्पन खेलमैदान निर्माण गर्न ४ लाख सहयोग गरेका छन्।

खेलकुद

श्यान्टू र शिव विजयी

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं – नेपाल प्रहरीका श्यान्टू श्रेष्ठ र एपीएफ क्लबका शिवसुन्दर गोथे सम्झना कप खुला टेबलटेनिसको पुरुष सिंगल्समा शुक्रबार क्वाटरफाइनल पुगेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा राष्ट्रिय च्याम्पियन श्यान्टूले काठमाडौंका निहाल श्रेष्ठलाई ४–० तथा शिवले एभीएमका संयोग कपालीलाई ४–० को सोझो सेटमा पराजित गरे।

 

Page 16
Page 20
कोसेली

आँसुमा बाँधेको सुनको सपना

‘अम्बर गुरूङको नेपालीप्रतिको प्रेम आमाबाबुले आफ्नो बच्चालाई गर्नेजस्तो सर्तरहित थियो— नैसर्गिक र प्रश्न गर्नै नसकिने ।’ गुरूङ र उनले बुझेको नेपाली पहिचानलाई छोरी अल्काले यसरी सम्झिइन् :
- अल्का गुरुङ

बाबा अम्बर गुरुङलाई मृत्युपश्चात् सम्मान गर्न केही महिनाअघि आमा र मलाई मोरङको बेलबारीमा आयोजित एक कार्यक्रममा आमन्त्रित गरिएको थियो। साउन अन्तिम साता गरिएको उक्त कार्यक्रम हामी दुबैका लागि तीतोमीठो अनुभवले भरिएको थियो। किनभने हामी पहिलो पटक बाबाको गैरउपस्थितिमा कुनै सम्मान कार्यक्रममा भाग लिँदै थियौं।

एकातर्फ बाबालाई उहाँले नपाली संगीत र साहित्यमा पुर्‍याउनुभएको योगदानका लागि मृत्युपर्यन्त पनि सम्मान गरिएको साक्षी हुन पाउँदा हामीलाई गर्व थियो भने अर्कातर्फ उहाँ अब हामीमाझ हुनुहुन्न भन्ने यथार्थले मुटु दुखिरहेको थियो। बाबाको कला र आत्मा सदैव जीवित नै रहे पनि उहाँको सिर्जनशीलता, कुराकानी र आवाजले अब हाम्रो उपस्थितिलाई सराहना गर्दैन भन्ने दु:खद अनुभूति भइरहेको थियो।

कार्यक्रम दुई भागमा बाँडिएको थियो। बिहानी सत्र दार्जिलिङ, असम, बेलबारी, धरानलगायत आसपास नेपाली कविहरूको कवितावाचन बाबामा समर्पित थियो। मध्याह्नको कार्यक्रम उहाँका संगीत र गीतहरूमा समर्पित। आयोजकहरूले बाबाले सबै नेपालीलाई एउटै सूत्रमा जोड्न निभाउनुभएको भूमिकाको उच्च मूल्यांकन गर्न त्यहाँ स्वदेशी र प्रवासी दुवै तप्काका कवि, लेखक, संगीतकार र गायकको सम्मेलन गरेका थिए।
कलाकार तथा बेलबारीका स्थानीयको सानो जमघटमा भएको कार्यक्रमले विश्वभर छरिएर रहेका नेपाली डायस्पोराको सांकेतिक प्रतिनिधित्व गथ्र्यो। यस्तै नेपाली कला, संस्कृति र पहिचानको विकासमा बाबाले आजीवन गरेको योगदानमा सबै नेपालीलाई एकताबद्ध गर्ने शक्ति रहेको त्यहाँ स्पष्ट हुन्थ्यो।

तसर्थ, बाबाले नेपाली संगीत र साहित्यकै विकासमा योगदान कसरी दिनुभयो? र, नेपालीको रूपमा हाम्रो सामूहिक तथा भिन्न पहिचानको प्रतीक हुनुभयो? यी प्रश्नहरूको उत्तर खोज्न मैले बाबाको केही गीत र नेपालीपन तथा नेपाली पहिचानप्रतिको उहाँको दृष्टिकोणबारे पनि संश्लेषण गर्न चाहेंं।‘पहिचान’ का बारे छलफल गर्नु भनेको राजनीति र अर्थनीतिको धु्रवीकरणको साँघुरो घेराभित्र पर्नु हो। यहाँ मेरो उद्देश्य किञ्चित त्यो होइन। मैले यहाँ ‘पहिचान’ भनेको केवल हाम्रो सामूहिक नेपाली पहिचानमा सगीत, साहित्य, कला र संस्कृतिको कोणबाट र बाबा तथा उहाँको कलाले खेलेको भूमिका भन्न खोजेको हो। यो धेरै अर्थमा सांकेतिक बिम्बको कुरा हो। उदाहरणका लागि हाम्रो राष्ट्रिय गानले एकातर्फ हाम्रो राष्ट्रिय इतिहास र विभिन्न ‘जाति’ का रूपमा हाम्रो पहिचानको प्रशंसा गर्छ। त्यसरी नै अर्कोतर्फ नेपालीका रूपमा छरिएर ‘घर’ बाट टाढा–टाढा रहे पनि आफ्नो सामूहिक पहिचानलाई जोगाउन नेपालीहरूले कति कष्ट बेहोरेका छन् र कति सास्ती खेपेरै आफ्नो घरलाई सम्झने गरेका छन् भन्ने ‘नौलाख तारा’ का शब्दहरूले बताउँछन्। यी शब्दहरू आफैंमा उदाहरण हुन्।

न सम्झ आज नेपाली सन्चोले यहाँ बाँचेकोकाँढाकै माझ पहाडी फूल (छैन र कहाँ हाँसेको)–२सुनको सपना आँसुमा किन पो बाँधी ल्यायौ नि
मनको आगो निभाउन किन पो यहाँ आयौ नि...अगमसिंह गिरीले जब यो गीत रचना गर्नुभयो र बाबाले संगीत भर्नुभयो र गाउनुभयो— सायद उहाँहरूले पहाड र दार्जिलिङका चिया बगानमा दु:ख भोगिरहेका नेपाली (मुगलान) लाई मात्रै सम्झनुभएको थियो। तर, पाँच दशकअघिको यो गीत अहिले पनि दार्जिलिङ, भुटान, असम मात्र नभएर खाडी मुलुक, मलेसिया, युरोप र अमेरिकालगायत पूरा विश्वमा दु:ख पाइरहेका तथा घर सम्झिएर दिन बिताइरहेका लाखौं नेपालीको अवस्थासँग उत्तिकै सान्दर्भिक छ।

यो गीतको सान्दर्भिकता स्मरण गरिरहँदा म अमेरिकाको एउटा घटना सम्झन्छु। मैले अमेरिकामा नेपाली देहव्यापारका बारे एउटा ‘प्रेजेन्टेसन’ दिनुपर्ने थियो। कार्यक्रमको केही दिनअघि मलाई आयोजकका तर्फबाट जर्जियाबासी डा. रामचन्द्र बरालको फोन आयो। उनले मलाई मेरो प्रेजेन्टेसन दिनुभन्दा पहिला ‘नौ लाख तारा’ बारे केही बोलिदिन आग्रह गरे। उनलाई त्यो गीतले घरबाट बाहिर गएका अथवा बिदेसिएका सम्पूर्ण नेपालीले गरिरहेको संघर्षका बारे बोल्छ भन्ने गहिरो रूपमा लागेको रहेछ।

बाबालाई हामी नेपालीको पहिचान भनेको सामाजिक संघर्ष र राजनीतिक इतिहास मात्र नभएर यहाँका हरेक मानिसमा रहेको भिन्नता र अतुलनीय विशेषतामा रहेको महसुस हुन्थ्यो। उदाहरणका लागि, उहाँका धेरै गीतले हाम्रो गरिबी, कसैसँग पनि तुलना गर्न नसकिने बहादुरी, उदारता, कोमलपन, सन्तोषी, खुला हृदय, सच्चा र इमानदारीलाई आत्मसात् गरेका छन्।

नेपालीको गरिबीप्रति उहाँको सहानुभूति थियो। तर उहाँलाई यही आर्थिक पीडाले गर्दा नेपालीलाई करुणामय र दयालु बनाएको हो भन्ने लाग्थ्यो। नेपालीहरू बाहिरबाट हेर्दा जति कठोर देखिन्छन्, भित्र उति नै नरम छन् भन्ने बुझाइ उहाँको थियो। गरिबीकै कारणले नेपाली जातिमा कोमलपन, अर्काको मर्म र वियोगलाई बुझ्ने भावना, उदार हृदय, बलियो आत्मबल र आत्मविश्वास निहित छ भन्ने उहाँको धारणा थियो। नेपाली हुनुका गुणहरूको कुरा गर्दा बाबा कोमामा जानु केही घन्टाअघि ग्रान्डी अस्पतालको एक घटना याद आउँछ। बाबा खाटमा सुतिरहनुभएको थियो। उहाँको खोकी निकै बढेकाले सास फुल्न थालेको थियो। त्यो देखेर मेरो श्रीमान्ले बाबालाई हिम्मत नहार्न भन्दै हुनुहुन्थ्यो। बाबाले यो सुनेपछि मुस्कुराउँदै भन्नुभयो, ‘मलाई थाहा छ, म हार्दिनँ।’

सास फुले पनि त्यो बेला बाबाले हामीलाई दोस्रो विश्व युद्धमा बर्मामा पक्राउ परेका गोखार्ली सैनिकको कथा सुनाउनुभयो। विभिन्न दु:ख, कष्ट र अप्ठयारो भोगेर बर्माका जंगल र गुरिल्लाबाट उम्कन सफल एक गोर्खालीलाई दुई वर्षपछि उद्धार गरियो। त्यसपछि उसलाई सैनिक कमान्डरले यस्तो अवस्थामा पनि ‘दुई वर्षसम्म कसरी बाँचिस्?’ भनेर प्रश्न गर्दा त्यो गोर्खाली सैनिकले च्यातिएको नक्सा देखाउँदै ‘यसको सहयोगबाट जंगलबाहिर निस्कन सफल भएँ’ भनेर जवाफ दिएको थियो। उसको हातमा रहेको त्यो नक्सा बर्माको जंगलको नभएर लन्डन सहरको थियो।
त्यो कथा टुंग्याउँदै बाबाले भन्नुभयो, ‘मलाई थाहा छ, म यसबाट पार पाउँछु, किनकि म आत्मबल र आत्मविश्वास उच्च भएको नेपाली जाति हुँ। हामी नेपालीको आत्मबलले कस्तो–कस्तो मुस्किल त पार गरेको छ। यो नै हाम्रो विशेषता हो। यो नै नेपाली मौलिकता र नेपाली अस्तित्वको चिनारी हो।’

नेपालीको बहादुरी, इमानदारी, सच्चापन, निर्दोषिताप्रति बाबाको प्रेम अविच्छिन्न र निकै गहिरो थियो। उहाँको नेपालीप्रतिको प्रेम आमाबाबुले
आफ्नो बच्चालाई, दाइ–दिदीले आफ्नो भाइ–बहिनीलाई गर्नेजस्तो सर्तरहित थियो— नैसर्गिक, प्रश्न गर्नै नसकिने र निरन्तरको प्रेम।यसप्रकारको नेपालीत्वको भावनामा बाबा भौगोलिक सिमाना, सीमा, आर्थिक–सामाजिक स्थिति, जातपात, स्वदेशी–प्रवासीबीचको भिन्नतालगायतका सबै आधारभन्दा माथि उठ्नुभयो। त्यसको साटोमा उहाँले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्नुभयो। उहाँले लेखेको एउटा गीतमा पनि त्यही भनिएको छ :
तिमीलाई गरिबभन्दा सरम छैन तीलभरि
तिम्रा जम्मै आँसु मेरा आँखाका यी डिलभरि
तिम्रो पसिनाको फूल फुल्छ एक दिन देशभरि
इमान तर बेच्यौ भने शिर निहुरिन्छ युगभरि
नेपाली, मेरो नेपाली
नेपाली, मेरो नेपाली

शूर, वीर जत्तिका छौ, त्यत्तिकै छौ सन्तोकी
बाहिरबाट हेर्दा कठोर, (कमलो छौ दिलभरि)–२
झुत्रो लुगा लाए पनि धनी तिमी मनभरि
तिमी भोकै निदाएको सपना मेरो पेटभरि
नेपाली, मेरो नेपाली

एक घरदेखि छुटिएका बेग्लै हामी बासहरू
एक आमाले पस्किएकी (थालका हामी गाँसहरू)–२
छुटिएको वेदनाको छटपटी भए पनि
जतासुकै बसे पनि नेपाल छ मनभरि
नेपाली, मेरो नेपाली

बाबाका लागि नेपाल र नेपालीप्रतिको प्रेम सम्झौतारहित, निर्धक्क र अटुट सत्यझैं थियो। उहाँका धेरै राष्ट्रिय गीतले पनि नेपालीको सद्गुणहरूको महिमागान गर्दै हाम्रो वीरता, गौरव र सामूहिक जातिप्रेमलाई मुखरित गर्छ। उहाँको जातिप्रेमले नै गीतमा आत्मा भरिदिन्छ र, नेपालीपनको भावनालाई गहिराइमा पुर्‍याउँछ जुन गहिराइमा सहानुभूति, दया र मानवता भरिएको छ।

उच्चस्तरको सिर्जनाले मानिसबीच रहेको वैमनस्यतालाई हटाउँदै एकताबद्ध गर्नुपर्ने हुन्छ। मेरो विचारमा सच्चा कलाकार त्यो हो, जसले श्रोता–दर्शकलाई त्यो कुरा सुनाउन वा देखाउन सक्छ जुन कुरा सामान्य अवस्थामा सुन्न अथवा देख्न सकिन्न। विशेषगरेर जसले हामीलाई एकअर्काको भावनालाई बुझ्दै व्यक्तिगत तहमा मिलाउन उत्प्रेरक बनाउन सक्छ।बाबामा भएको यही विशेषताले मानिस–मानिसको संवेदनलाई जोड्न बल पुर्‍याएको हो। यही क्षमताकै कारणले उहाँले नेपालीप्रति प्रेम र समर्पणभाव देखाउँदै नेपाली कला–संस्कृतिलाई माथि उचाल्दै नेपाली पहिचानलाई उजागर गर्न सफल हुनुभयो। उहाँको यो गीतले पनि यसै भन्छ:
म गरिब नेपालीको तर धेरै प्यारो छोरा
चाहे झोपडीमा मेरो सारासारा जीवन बितोस्
म भोकै पिंडीमा मरूँ चाहे गल्लीमा सडूँ
मेरो नेपाल संसारमा ठूलो भई बाँचोस्
म आफ्नै चिन्तनामा कैले पनि नलागूँ है
मैले गरेको परिश्रमले मेरो देश फुलोस्
म आफू चाहे बाहिरतिर बसूँ
नेपाल फुल्दै छ भन्ने सन्देश पाइरहूँ

म आफ्नै जपनामा कैले पनि नडुबूँ है
देशको चिन्तामा बरु मेरो केश फुलोस्
म आफू नर्कमा परूँ कि त स्वर्गमा परूँ
पसिनाका फूलहरूको मोती म फुलाउन सकूँ

म वीरसाथै नेपालीको धेरै त्यागी छोरा
यो देश उठाउने संग्राममा मेरो जीवन बितोस्
म शिथिलता र थकाइले चाहे आफू गलूँ
सारा नेपालीलाई ब्युँझाउने गीत म गाउन सकूँ
बाबाका लागि सिर्जना भनेको उहाँको भावनाको अभिव्यक्ति र जीवनको भोगाइ मात्र थिएन। न त केवल इतिहास, जीवन कथाहरू र नेपालीको यथार्थ मात्र थियो। अन्तत: उहाँका सिर्जनाहरूले नेपाली जातिको आत्मामा रहेको द्वन्द्वलाई शीतल पार्ने प्रयास गरेका छन्। यस्तै उहाँको सिर्जनाको केन्द्र भनेकै नेपाली हुनुको गौरव हो, जुन पहिचान हरेक नेपालीको अद्वितीय गौरबबाट मुखरित भएको हो।

Page 21
कोसेली

विधाको अनौठो संवाद

शङ्कर लामिछानेका निबन्धमा राजनीतिक चेतना जर्ज अर्वेलका निबन्धमा जस्तो प्रयोग हुँदैनन्। अर्वेलका निबन्ध खासमा लामिछानेका जस्ता निजत्व र भावनाले लेखिएका छैनन्।
- अभि सुवेदी

दुवै लेखकले निबन्ध लेखेका हुन्। शङ्कर लामिछाने (संवत् १९८४–२०३२) र जर्ज अर्वेल (सन् १९०३–१९५०) क्रमश: अठ्चालीस र सत्चालीस वर्षमै दिवंगत भएका दुई प्रतिभाशाली लेखकका निबन्धको प्रसङ्ग छ। यो कुरा तुलनात्मक रूपमा पहिले उठेको थिएन। यो सङ्कथनमा यी दुई लेखकको कुरा उठ्यो। वास्तवमा भन्दा यी दुई लेखकको बीचमा समानताभन्दा अन्तर बढी छन्। लामिछाने निबन्धकार हुन्। उनले लेखेका एकचालीसवटा निबन्धलाई लिएर हामीले छलफल र चर्चा गर्नुपर्छ। जर्ज अर्वेलले छवटा उपन्यास, तीनवटा गैरउपन्यास, फुटकर निबन्ध र संस्मरण लेखेका छन्।

तिनमध्ये अर्वेलको ‘नाइन्टिन एट्टीफोर’ (१९४९) र ‘एनिमल् फारम्’ (१९४५) अनि उनका बर्मा संस्मरण अंग्रेजी भाषा र राजनीति विषयका अनि हात्ती मार्ने विषयका निबन्धहरू चर्चित छन्। अर्वेलका निबन्धहरूको सार उनका उपन्यासँग जोडिन्छ। ती अधिनायकवादको विरोध गर्थे। ‘नाइन्टिन एट्टीफोर’ मा तिनले यस्तो डिक्टेटर राज्यको कल्पना गरेका छन् जहाँ बोलिने भाषा राज्यको नियन्त्रणमा यान्त्रिक हुन्छ। त्यो भाषामा ज्यान हुँदैन। सबै मानिसलाई यन्त्रवत् डिक्टेटर राज्यले त्यही भाषा बोल्न लगाउँछ। त्यो निउज्पिक् भन्ने सरल तर केही अर्थ नलाग्ने भाषा राज्यले चलाउँछ। त्यसैगरी ‘एनिमल् फार्म’ मा समान सुँगुरहरूमध्येबाट कोही कोही बलिया सुँगुर निस्केर भन्छन्, ‘हामी सबै समान हौं, तर हामीमध्येबाटै कोही कोही बढी समान छौं।’ ती बढी समान डिक्टेटर नेतृत्व हुन् जसको सानो वर्गले शोषण र दासता कायम गर्छ। अरू जनावर निरीह भएर काम गर्छन्। तर कालान्तरमा ती विद्रोहमा उत्रिन्छन्। अत्यन्त कुशलतापूर्वक लेखिएको यो लघु उपन्यास अन्त्यन्त वाचाल छ। केही डिक्टेटरका ‘आइडियोलोजी’ मान्ने समालोचकहरूले यो उपन्यासको प्रकारान्तरले आलोचना गरेका छन्। अर्वेलले ‘राजनीति र आङ्ल भाषा’ निबन्धमा यान्त्रिक प्रयोग गरिंदै जाने यो भाषाको प्रयोगमा सिर्जनशीलता मर्दै जाने कुरा लेखेका छन्। अहिले आएर आङ्ल भाषा विश्वव्यापी भएको छ, तर अहिले पनि अमेरिका र ब्रिटेनतिर हुने राजनीतिक परिवर्तनलाई अर्वेलको यो भविष्यवाणीसँग जोड्ने जमर्काहरू प्रकारान्तरले देखिएका छन्। अर्वेलका निबन्धमा उनको एसियाली खास गरेर बर्माली दिनहरूमा पाएको अनुभवका निबन्धहरू वास्तवमा प्रबन्ध हुन्। ती भावुक छैनन् अनि विचारात्मक छन्।

यो तुलनात्मक लेख लेख्ने सन्दर्भ परेका छन्। गएको साता दुवैको स्मृति दिवस थियो। हामीले लामिछानेलाई सम्झियौं। विश्वले अर्वेललाई सम्झियो। यस्ता अवसरमा लेखक सम्झिनु एकदमै स्वाभाविक प्रक्रिया हो। मैले झापाको एउटा मेडिको–सामाजिक महोत्सवमा भएको बेला पत्रिकामा शङ्कर दाइको विषयमा केही ‘फिचर’ पढ्न पाएँ। उपन्यासकार पिटर जे कार्थकको अन्तर्वार्ताले धेरै सम्झना ताजा गरायो। पिटर शङ्कर दाइसँग भएका अनौठा भेटहरूको वर्णन हामी रमेश श्रेष्ठ, निर्मलमान तुलाधर, साबि ठाकुरलाई विशेष सेसनहरूमा सुनाउँथे। हामी अत्यन्त आसन्नताले सुन्थ्यौं। पछि पिटरको उपन्यास ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ को भूमिका शङ्कर लामिछानेले लेखे। हामी त्यो लेखनसँग सहभागी भयौं किनभने पिटरको उपन्यास ती संगीतकार भएका हुनाले अमूक सिम्फोनीका ‘मुभमेन्ट’ हरूजस्ता खण्डमा बाँडिएको छ। त्यो दार्जिलिङको अमूक जीवन, अनि पात्रहरूका गतिहरूले बनेको छ। हाम्रो बुझाइमा त्यो एउटा सिम्फोनी नै थियो। मेरानिम्ति त्यो सिम्फोनी नै छ। समय वाग्मतीको पानीजस्तो धेरै बगिसकेछ अहिलेसम्म। यसो भनौं, धेरै पटक यो उपन्यासको सिम्फोनी प्रस्तुत भएको छ। कति ठाउँमा प्रयोग भयो त्यो हामी कसैलाई थाहा हुँदैन। साहित्यको अर्थ त्यही हो। आयरल्यान्डका कवि डब्लुबी यिट्स्को मृत्यु (सन् १९३९) मा कवि अडेनले लेखे, ‘कवि तिमी अहिले अज्ञात पाठक र प्रशंसक भएका छौं। कति मानिसले आजको चिसो रातमा तिमीलाई पढे। त्यो हामीलाई थाहा हुँदैन।’ मलाई पिटरको यो उपन्यासको ऐतिहासिक महाकाव्यिक चरित्रले अहिले पो झन् समात्छ।

शङ्कर लामिछाने उर्फ शङ्कर दाइले लेखेको पिटरको उपन्यासको भूमिका त्यो महाकाव्यिक ऐतिहासिक स्पन्दनको एक नोट हो। त्यो निबन्ध हो। म यही बिन्दुबाट उनको निबन्धतिर पस्छु। मेरो विचारमा शङ्कर दाइका निबन्धमा बृहत्तर काव्यिक ऐतिहासिकता र व्यक्तिका निजी थिएटरहरूको समागम हुन्छ। म संक्षेपमा शङ्कर दाइ र अर्वेलका निबन्धले जन्माएका साझा अनुभूतिबारे केही निष्कर्ष निकाल्ने प्रयास गर्छु।
‘गौंथलीको गँुड’ (२०२५)मा शङ्कर दाइको प्रसिद्ध निबन्ध ‘अर्धमुदित नयन र डुब्न लागेको घाम’ सहित तेह्रवटा निबन्ध छन्। अरू संग्रह ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ (२०२४, २०५७) मा दसवटा निबन्ध छन्। अनि ‘गोधूलि संसार’ (२०२७) मा उनका प्रायश: प्रख्यात मुख्य अठारवटा निबन्ध राखिएका छन्। यसमा राखिएको ‘गैलरीमा एक दिन’, ‘अर्धमुदित नयनको कथा’ ले शङ्कर दाइको निबन्धको एउटा अन्तर्भाषिक सन्दर्भहरू भएको शैली प्रस्तुत गर्छ। ‘अर्धमुदित नयन’ मा अंग्रेजी नै सोझै लेखिएको छ। यसको निम्ति उनले ‘गैलरी’ जस्तो रङ्गमञ्च छानेका छन् जहाँ अन्तर्भाषीय र विषयलाई खेल्ने ठाउँ हुन्छ। यसमा नेवारी र अंग्रेजी भाषाका प्रयोग भएका छन्। जापानी शब्दावली छन्। क्लार्क होटलको यो मञ्चमा उनको कलाकार गुजरसँग भेटघाट हुन्छ। यो थलो छान्नु शङ्कर दाइको शैली हो। यस्ता मञ्चबाट उनी नबुझिने र आमवृत्त फराकिलो भएका विषयमा प्रवेश गर्छन्। बुझिने र नबुझिने लेखनका कुरा आउँछन्। कसो–कसो शङ्कर दाइको प्रभाव हामी केहीलाई परिबसेको हो कि। मैले सामना गर्ने विषय त्यस्तै हुन्।

शङ्कर दाइ भन्छन्, ‘मैले आपैंm पनि अंग्रेजी, उर्दू, संस्कृतलाई प्रशस्त प्रयोग गरिदिएको छु। (किताबको नाम नै एब्स्ट्रयाक्ट छ)।’ शङ्कर दाइका यी हरफ पढेपछि म आफ्ना निबन्धसंग्रहको नाम नै ‘फ्लानरको डायरी’ (२०७२) राख्ने मानिसले अरू कुराहरू पनि भन्दै जानुपर्छ। बुझिने र नबुझिने विषय शङ्कर दाइको पनि लेखकीय अस्मितासँग जोडिएको थियो। सबैका अनुभव छन्। मलाई माघ १० २०७३ को दिन खगेन्द्र संग्रौला र मलाई ‘मेडिकल महोत्सव, झापा’ को सेसनमा त्यही प्रश्न गरे, दर्शकले। मेरा स्व. मीत तेह्रथुमका पदमबहादुर न्यौपाने ‘तिमीले लेखेका सबै लेख पढ्छु, तर धरोधर्म केही बुझ्दिनँ’ भन्थे। शङ्कर दाइको अर्को निबन्ध ‘खै बुझिंदैन’ मा त्यस्तै परिवृत्तभित्र लेखिएको छ। त्यसो त लक्ष्मीप्रसाद देवकोटाका कति निबन्ध पो सहजै बुझिएलान् र † तर भाषाशास्त्रको अध्ययन गर्ने अनि पछिका उत्तरवर्तीहरूसँग परिचित र तिनका आलोचक सबैले बोध गरेको कुरा एउटा छ। त्यो हो, सरल लेखन पनि बुभिंmदैन किनभने मैले ‘ल यत्ति सत्य हो’ भनेर लेखेको कुरा अर्कालाई अर्थ लाग्दैन। सरल वाक्य सबभन्दा जटिल हुन्छन् भन्ने जापानी जेन कवि र हाइकु लेखकहरू सरलताजस्तो अप्ठयारो केही देख्दैनन्। तर मलाई सधैं सरल लेखन मन पर्छ। त्यही प्रयास गर्दा मेरा निबन्ध जटिल पनि भएका हुन्, ठाउँठाउँ। मलाई मन पर्ने सरलता मात्रै हो। यसरी शङ्कर दाइ हामीसँग अनेकौं किसिमले छन्, निबन्धको निबन्धात्मक अभिव्यक्तिमा। त्यो छलफलको विषय हो। ‘मौन अभिव्यक्ति’ मा शङ्कर दाइ लेख्छन्, ‘अँ त, लेख्दालेख्दा आजकाल अलि वाक्क पनि लाग्न थाल्यो– लेख्ने कुराले होइन, लेखनबीचका कुराले अझै स्पष्ट भन्ने हो भने नलेखिने कुराले।’ यसमा उनका प्रायश: मुख्य निबन्ध समेटिएका छन्। ‘बिम्ब प्रतिबिम्ब’, ‘शङ्कर लामिछाने लामिछानेको दृष्टिमा’ (आत्मकथा)मा उनका प्रतिबिम्बात्मक कुरा र अनुभवहरू राखिएका छन्। प्रकाश सायमीको भावक अभियानले शङ्कर दाइ विषयका लेख, संस्मरण र समकालीनहरूका विचार राखेर संग्रहहरू निकालेको छ। अध्येताहरूको निम्ति राम्रो काम गरेको छ। सायमीको लगनशीलता र प्रेमको सराहना गर्छु।

जर्ज अर्वेलसँगको सान्निध्यको कुरा गर्दा शङ्कर दाइका एकाध विचारहरू उद्धरण गर्नैपर्छ। ती उद्धरण भावक अभियानले छापेको ‘एब्स्ट्रयाक्ट... (२०५७)’ मा समावेश यी उद्धरणबाट म फेरि अर्वेलतिर लाग्छु। शङ्कर दाइ भन्छन्, ‘साहित्य साँच्चिकै इतिहास हो। इतिहासमा झूट धेरै हुन्छन्, ट्विस्टेड हुन्छन्। एउटा कुनै वादले छोएको हुन्छ। साहित्यिकले त्योचाहिं गर्दैन।’ आफ्ना लेखनको भविष्यमाथि लेखकहरू निकै भावुक भएर कुरा राख्छन्। शङ्कर दाइ भन्छन्, २००७ देखि २०२५ सालसम्मको अठार वर्षको अनुभव आजभन्दा पचास वर्षपछि कसैले खोज्यो भने उनले आफूउपर लेखेका भावको अर्थ बुझ्नेछ ‘कि जस्तो लाग्छ’। यसैको ‘अभूमिका’ मा शङ्कर दाइ स्लेटको बिम्ब प्रयोग गर्छन्। भन्छन् जन्मिदै हामी सफा स्लेट लिएर जन्मिन्छौं। पछि लेख्दै मेट्दै गर्दा यो स्वयंले बुझ्न नसक्ने अवस्थामा पुग्छ। म पश्चिमी सिद्धान्तका फ्रान्सेली मनोवैज्ञानिक भँm लकँको मनोगत सिद्धान्त र उत्तरऔपनिवेशिक सिद्धान्तको ‘पालिम्पसेस्ट’ पढ्ने र पढाइ बस्ने मानिसलाई शङ्कर दाइका यी कुरा अत्यन्त वाचाल लाग्छन्। अन्तै लेख्नुपर्छ। तर पालिम्पसेस्ट भनेकोचाहिं लेखिहालुँ। यो भनेको स्लेटपाटीकै सिद्धान्त हो। हामी पहिले लेखेका कुरामाथि पछि फेरि लेख्छौं वा कागत धेरै नभएको बेला लेख्थ्यौं। इतिहासका कुरा पनि त्यस्तै हुन् जो एउटा लेखनमाथि फेरि लेखिन्छन्। हाम्रा इतिहासका स्लेट मेटिंदैनन्, तर तिनका तह बुझेर पढ्न सक्नुपर्छ। तर लेखनको शाश्वतताबारे उनी भन्छन्, ‘यसो हेरेमा भन्नु बाँकी नै छ के? कस–कसले कत्ति राम्ररी भनेर गएनन् र? र त्यो भनाइ टिक्यो के?’

शङ्कर दाइका निबन्ध र केही भूमिका लेखन अनि संस्मरणहरूबाट यहाँ केही कुरा जोडेर हेर्नुपर्ने हुन्छ। उनले लेखका भूमिका वा निबन्धहरू काव्य र समीक्षाको गोधूलि हुन्। एउटा प्रसङ्ग जोडिहाल्छु। मेरो नाटक ‘सान्दाजुको महाभारत’ (२०७२) मा मैले विश्वेश्वरप्रसाद कोइराला उर्फ सान्दाजुले पारिजात र उनको काव्यिक र औपन्यासिक चरित्रमाथि बोलेको कुरा राखेको छु। त्यसमा शङ्कर लामिछानेको भूमिकाको प्रसङ्ग छ। मेरो पात्र सूत्रधार सान्दाजुसँग संवाद गर्छ। केही प्रसंग मिल्ने उद्धरणहरू छन्—

‘पारिजातको उपन्यास ‘शिरीषको पृ्mल’ बीस सालमा नै निस्कियो। त्यो निस्केपछि सान्दाजुलाई कसैले, मैले सम्झेअनुसार पुरुषोत्तम बस्नेतले, सुन्दरीजल राजबन्दीगृहमा त्यो पुर्‍याइदिए। त्यो उपन्यास पढेर सान्दाजुले आफ्नो डायरीमा बाइस जनवरी सन् उन्नाइस सय छैसट्ठीमा लेखेको एन्ट्री ‘कल्पना’ पत्रिकामा छापेको पढेको थिएँ। त्यसमा उनले ‘शिरीषको पृ्mल’ काव्यिक छ, औपन्यासिक कम छ भनेको कुराले मलाई छोएको थियो।. मलाई शङ्कर लामिछाने दाइले पारिजातको किताबमा उनले लेखेको भृ्मिकाको छलफल गर्न आउनुअघि लरेन्स डरेलका अलेक्जान्ड्रिया क्वाट्रेट वा चारवटा उपन्यासको शृंखला पढेर आउनू भने। ती उपन्यासको सेटमा ‘जस्टिन’ उपन्यासलाई विशेष ध्यान दिनू भने। त्यसमा एउटी जस्टिन भन्ने नारीको दुई पुरुषसँग प्रेम छ। सकम्बरीको पुरुषहरूको संगतजस्तै तर अझ जटिल। जस्टिन भन्ने यी यहुदी नारीको व्यक्तित्वको रहस्यले पुरुषहरू हल्लिएका हुन्छन्। यो दु:खान्त कथामा जस्टिनको वरिपरि घुमेको पुरुष चेतनाका तरंगको वर्णनले मलाई खिचेको थियो।’ मेरो शङ्कर दाइसँगको कुरा यहाँ भन्नुको खासै अर्थ छैन। तर शङ्कर दाइका निबन्धात्मक काल्पनिकीमा यी अध्ययनले प्रभाव पारेका थिए भन्ने मेरो निष्कर्ष हो। पारिजातको उपन्यासमा भूमिका लेखेपछि शङ्कर दाइ माक्र्सवादी आलोचकहरूबाट आलोचित भए। त्यसमा गोविन्द भट्ट र ताना शर्माका नाम प्रमुख रूपमा आउँछन्। एक ठाउँमा शङ्कर दाइले ताना शर्मालाई आलोचनासमेत गरेका छन्। उनको यो छोटो घटना जर्ज अर्वेलसँग केही मिल्छ। यहाँ विश्वेश्वरप्रसाद कोइरालाले ‘कल्पना’ पत्रिकामा यसो भनेको कुरा मेरो सूत्रधारले उद्धरण गरेको छ—

‘कथाको रूप अखण्ड हुन्छ। कविले तटस्थताको अभावले त्यसलाई देख्न सक्तैन। पारिजातको शैली मार्मिक र उत्कृष्ट छ। यिनका कथामा भिक्षुको जस्तै एउटै भावनाको गुम्फन छ। पारिजातले आफ्नो भाषाको जोरले मात्र यसलाई उपन्यास बनाउन सकेकी छन्।... शङ्कर लामिछानेले भृ्मिकामा शृ्न्यवादको व्याख्या गरेका रहेछन्। विद्वतापृ्र्ण छ। मेरो विचारमा भने कथाको ‘हेतु ठीक शृ्न्यवादको विपरीत छ।’ यस उपन्यासमा जीवनप्रति अगाध ममताको मार्मिक उल्लेख छ। सुयोगवीर जीवनप्रति उदासीन छैन। युद्धका स्मृतिले ऊ हरघडी समातिएको छ। उसले लडाइँको सिलसिलामा जीवनको सुखको स्वाधिकार र आत्मविश्वास गुमाइसकेको छ।... त्यस्तो जीवनले टनाटन भएको कथानकलाई शृ्न्यवाद भयो भन्न मिलेन। यसरी तुलना गर्दा हामीले सकम्बरीलाई लिनुपर्छ। सकम्बरी नराम्री छ र सायद त्यसैले उसमा हीनताभाव—इन्फेरियोरिटी छ। ऊसँग नारीसुलभ प्रेमको प्यास छ। ऊ भावुक छ। यही भावुकता र हीनताभावले गर्दा उसको ट्रयाजेडी भएको हो।’

माक्र्सवादीहरूले उपन्यासको पनि आलोचना गरे अनि भूमिकाको शून्यवादी आलेख भनी आलोचना गरे। तर त्यो भूमिका, सायद विश्वेश्वरप्रसाद कोइरालाले भनेजस्तो जीवनवादी विश्वासले भरिएको छ। राम्ररी हेर्नुपर्छ। शङ्कर दाइका निबन्धमा राजनीतिक चेतना जर्ज अर्वेलका निबन्धमा जस्तो प्रयोग हुँदैनन्। जर्ज अर्वेलका निबन्धहरू खास अर्थमा शङ्कर लामिछानेका जस्ता निजत्व र भावनाले लेखिएका छैनन्। अर्वेल भाषाको कृत्रिम प्रयोगमाथि सोझै प्रहार गर्छन्। भाषामा बहानाबाजी गर्ने ढाँट कुरा प्रयोग गर्ने, जीवनहीन परम्परावादी प्रयोग गर्ने, अनि भाषा र सत्यताप्रति इमानदारी नभएकाहरूलाई अर्वेलले निबन्ध मार्फत नै प्रहार गरे। उनको आलोचना आज झन् सान्दर्भिक भएको छ। त्यस्तै अर्वेलको उपन्यास ‘१९८४’ एक्काइसौं शताब्दीमा आएर झन् सान्दर्भिक भएको कुरा चाखलाग्दो छ। अर्वेलपछि पश्चिमी दर्शन र प्रतिरोधी विचारहरूमा धेरै छलफल भए। मिसेल फुकोजस्ता फ्रान्सेली दार्शनिकले शक्ति र भाषाका सिद्धान्त निकाले। अर्वेलले भाषाको अस्त्र प्रयोग गर्ने अनि त्यसको खराब प्रयोग गर्नेहरूलाई आफ्ना निबन्धमा आलोचना गरेका छन्। मिसेल फुकोले अमूक ठाउँको अमूक समयको शक्ति प्रयोग गर्नेले कसरी भाषा र अनुशासनको प्रयोग गर्छ, कसरी भाषामा लेखिने विषयलाई मोडेर शासन गर्छ र हैकम गर्छ भन्नेजस्ता सिद्धान्त निकाले। आज ती सिद्धान्त सबैथरी शक्ति र मुक्ति संकथनका विषय भएका छन्। अर्वेलले ठीक यही कुरा उनको उपन्यास र उनका निबन्धमा लेखेको कुरा धेरै वाचाल मानिएको छ। भाषालाई ठिंगुर्‍याउनेले ज्ञानमाथि नियन्त्रण गर्छ भन्ने उनले पछि देखेको दर्शन अर्वेलले पहिले नै देखेका थिए।

नेपालमा भाषाको सिर्जनाको निम्ति प्रयोग गर्छु भन्नेले अनि लेखनमा स्वतन्त्र चिन्तन हुन्छन् भन्नेले लामिछानेका निबन्धको कुरा गर्छन। जुनसुकै अन्तर्वार्तामा जसले पनि लामिछाने मेरा प्रिय लेखक हुन् भनेको कुराले मलाई किञ्चित हाँसो उठ्थ्यो। अहिले आएर हेर्दा लामिछानेका निबन्ध मन पराउनेहरूले कमसेकम एउटा कुरामा विश्वास गर्ने रहेछन्। त्यो हो, थोरै भए पनि, सानैमा भए पनि शङ्कर लामिछानेले पाठकलाई सिर्जनशील चिन्तनको मुक्ति दिने रहेछन्। उनका त्यति थोरै निबन्ध पनि दोहोरिएर प्रयोग हुनुको पछिल्तिर त्यही चेतना छ भन्ने मेरो विश्वास छ। निबन्धले निजत्व हालेर पनि मुक्तिका कुरा लेख्छ, अनि अर्वेलको जस्तो सामाजिक र राजनीतिक चिन्ताका विषय राखेर पनि मुक्तिका कुरा लेख्छ। तर यहाँनेर हामीले केही कुरा बुझ्नैपर्ने हुने रहेछ। त्यो हो आजको युगमा लेखिने निबन्ध, प्रवन्ध वा संकथनको लक्ष्य झन्डै उस्तै हुनु। आज हामी मिडियाको युगमा छौं। मार्सल मक्लुहन्ले सन् अस्सीतिरै भने, ‘मिडिया आफ्नो सन्देश आपैंm हो।’ आज आएर त्यो सत्य सावित पनि भएको छ, र त्यसले अरू जटिल संकेत पनि देखाएको छ। अब निबन्ध र प्रबन्धले सरल चेतना, मानवमुक्तिका कुरा लेख्नुपर्छ। जस्ता निबन्ध भए पनि तिनले खोजेको कुरा मानिसको मनको मुक्ति, झूटको खेती गर्नेहरूप्रति आलोचक भएर हेर्ने तिनको सामथ्र्यको चिन्ता हो। यस अर्थमा शङ्कर लामिछाने र अर्वेलको लक्ष्य मिल्छ, त्यो हो भाषालाई मुक्त माध्यम बनाउनु। हामी निबन्ध पढ्दा काव्यपछिल्तिरको सिर्जनशील मुक्ति पढ्छौं।

कोसेली

संस्कृति भर्सेज कानुन

- कमलदेव भट्टराई

सन् २०१४ मा भारतको उच्च अदालतले तमिलनाडु राज्यको परम्परागत खेल जल्लीकट्टुमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको सदर गर्‍यो।विशेषगरी जनावरप्रति क्रूर व्यवहार र मान्छेसमेत मर्ने तथा घाइते हुने सो खेलको कुनै औचित्य नभएको अदालतको फैसलाको आशय थियो। अदालतको निर्णयको व्यापक विरोध भयो। जनावर अधिकारकर्मीहरूले अदालतको फैसलाको स्वागत गरे पनि तमिलनाडुबासीले आफ्नो सांस्कृतिक अधिकारमा अदालतले अतिक्रमण गरेको भन्दै त्यसको विरोध गर्न थाले। 

गत हप्ता उक्त खेलमाथि अदालतले लगाएको प्रतिबन्ध हटाउनुपर्छ भन्दै चेन्नई र आसपासका क्षेत्रहरूमा ठूला प्रदर्शन भए। तीन–चार दिनसम्म पनि प्रदर्शन कम हुनुको साटो व्यापक जनसहभागिता बढ्दै गएपछि यो विषय केन्द्र र राज्य सरकारका लागि टाउको दु:खाइको विषय बन्यो किनभने त्यो मास कुनै पनि समय अनियन्त्रित हुन सक्थ्यो। स्कुल तथा कलेजहरू बन्द हुन थाले, सबै क्षेत्रका व्यक्तिहरूले यसमा ऐक्यबद्धता जनाए। स्थानीय संस्कृतिसँग उक्त खेल जोडिएका कारण पनि स्थानीय व्यक्तिहरू सडकमा आउन थाले। चेन्नईमा मात्र होइन दिल्लीमा समेत त्यस संस्कृतिको संरक्षण गर्न भन्दै आन्दोलन सुरु हुन लाग्यो।

त्यसैले त्यसको तत्काल समाधान खोज्न भन्दै तमिलनाडुका मुख्यमन्त्री दिल्ली आएर प्रधानमन्त्री नरेन्द्र मोदीसँग परामर्श गरे। यो एकाएक राष्ट्रिय विषय बन्यो। राष्ट्रिय अखबारहरूले यसलाई मुख्य हेडलाइन बनाए। मोदी र मुख्यमन्त्रीको बीचमा सहमति नभएको खबर सार्वजनिक भएपछि आन्दोलनमा सहभागी हुने संख्या ह्वात्तै बढेर गयो जसले कुनै न कुनै उपाय खोज्नका लागि दबाब बढ्दै गयो। सुरुमा मोदीले यो विषय अदालतमा विचाराधीन रहेका कारण आफूले केही समाधान दिन नसक्ने बताए। उता मुख्यमन्त्रीको माग भने अध्यादेश जारी गरेर खेललाई निरन्तरता दिने निर्णय नगरे स्वतस्फूर्त रूपमा सडकमा जम्मा भएका जनतालाई सम्हाल्न गाह्रो हुन्छ भन्ने थियो। दिल्लीमा तमिलनाडुका मुख्यमन्त्रीले कुनै न कुनै समाधान नलिई चेन्नई नफर्किने बताए।

अदालतमा विचाराधीन मुद्दामा अध्यादेश जारी गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा दिल्लीको कानुनी क्षेत्र पूरै विभाजित भयो। अदालतले चाहिँ यो खेलको कुनै औचित्य नै नभएको र खेलका कारण मान्छे मर्ने तथा धेरै घाइते हुने गरेकाले प्रतिबन्धको सरकारी निर्णयलाई सदर गरेको थियो। अन्तिममा केन्द्र र राज्य सरकार अध्यादेश ल्याएर भए पनि उक्त खेललाई फुकुवा गर्ने निष्कर्षमा पुगे र त्यसको एक दिनपछि विभिन्न भागहरूमा उक्त खेल पनि भयो। मान्छे र साँढेबीचको यो खेलमा यो वर्ष पनि केही व्यक्तिको मुत्यु भयो र धेरै घाइते भए।

यो परम्परागत खेलमा साँढेलाई खुला चौरमा छोडिन्छ र २० देखि ३० वर्षसम्मका युवाहरूले साँढेको सिङ तथा अन्य भाग समातेर त्यसलाई नियन्त्रणमा लिने प्रयास गर्छन्। सन् २०१४ मा अदालतले खेल बन्द गर्न अन्तरिम आदेश जारी गरेको थियो, जनावरप्रति क्रूरता प्रदर्शन गरेको भन्दै। तर यस खेल पक्षधरहरूले अदालतको आदेश बदर गर्न निवेदन दिएका थिए।

सन् १९९० देखि नै जनावरहरूको अधिकारक्षेत्रमा काम गर्नेहरूले खेल बन्द गर्न माग गरिरहेका थिए। सन् २०११ मा वातावरण मन्त्रालयले पहिलो पटक खेलमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। गत वर्षको तमिलनाडुको विधानसभाको अगाडि केन्द्रीय सरकारले अदालतले गरेको प्रतिबन्धलाई हटाउन प्रयास गरे पनि अदालतले नगर्नू भनी अन्तरिम आदेश जारी गरेपछि उक्त खेल हुन सकेन।

जल्लीकट्टु सो खेल झन्डै २००० वर्षदेखिको पुरानो खेल मानिन्छ। यसमा कुनै आकर्षक आर्थिक पुरस्कार छैन। जित्नेले कुर्तालगायतका सामानहरू पुरस्कार पाउँछन्। तर संस्कृतिसँग जोडिएकाले यसमा जनता सहभागी हुने गर्छन्। तर उक्त खेलमा मानिसको ज्यानै जाने भएकाले यसलाई बन्द गर्नुपर्ने आवाज उठ्ने गरेको हो। सन् २०१० देखि सन् २०१४ सम्म एक हजारभन्दा बढी सो खेल खेल्दा घाइते भएका थिए भने १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।जल्लीकट्टु फुकुवा गर्न अध्यादेश ल्याइएसँगै नयाँ बहस सुरु भएको छ— कानुन भर्सेज संस्कृति। कुनै खेल तथा कुनै विषय गलत छ भने संस्कृतिको रूपमा त्यसलाई ‘जस्टिफाई’ गर्न सकिन्छ कि सकिँदैन? यति बेला दिल्लीको कानुनी तथा बौद्धिक क्षेत्रमा यसबारे तातो बहस सुरु भएको छ।

यस्तो सांस्कृतिक विषय जहाँ जनताको ‘सेन्टिमेन्ट’ जोडिएको छ, यसमा अदालतले हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन भनी बहस सुरु भएको छ। यसका विरोधीहरूले यो खेल पूर्ण रूपमा पुरुषवादी र संकीर्ण भएको बताएका छन्। उनीहरूले सो खेल हेर्न महिला नआउने र दलित समुदायका व्यक्तिहरूलाई सहभागी नगराउने गरिएको उल्लेख गरेका छन्। जनताको भावनासँग जोडिएका यस्ता संस्कृतिलाई सुधार गर्ने हो कि संस्कृतिको नाममा संरक्षण गरेर नाजायज विषयलाई निरन्तरता दिने हो भन्ने धारमा पनि बहस भइरहेको छ। राजनीतिक दलका नेताहरूले भने जल्लीकट्टु खेल संस्कृतिसँग जोडिएकाले कानुनको भन्दा पनि संस्कृतिको पक्ष लिएको देखिन्छ। पछिल्लो प्रदर्शनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको सांस्कृतिक भावनाको सम्मान गर्न सबै खाले प्रयास गरिने बताएका थिए। उसो त जनता स्वतस्फूर्त सडकमा आएपछि स्थानीय राजनीतिक दलहरूले समेत आन्दोलनको समर्थन गरेका थिए।

Page 22
कोसेली

विश्व पूर्व सर्दै छ

- बसन्त बस्नेत

दास्रो विश्वयुद्धले संयुक्त राज्य अमेरिकालाई नयाँ विश्वव्यवस्थाको तालाचाबी सुम्पियो। कुनै बेला अमेरिकालाई कँज्याएको घाम नअस्ताउने बेलायती उपनिवेश त्यसयता निरन्तर उसकै वरिपरि सीमित छ। ठूला युद्धहरू र महत्त्वपूर्ण नीति निर्णयमा बेलायत आफैं महाशक्ति अमेरिकाको सहयोगीका रूपमा प्रस्तुत छ। फ्रान्स, पोर्चुगल, स्पेन अब उपनिवेशकर्ता रहेनन्। हिट्लरको पालामा कुरूप छवि बनाएको जर्मनीले चान्सलर एन्गेला मर्केलसम्म आइपुग्दा मानवीय अनुहार पाइसकेको छ। विश्वशक्तिको पश्चिमीकरणका कथा यस्तै छन्।

त्यो अध्याय अब अन्त्य हुने संकेत एसियाली देशहरूले दिएका छन्। पछिल्ला आधा दर्जनभन्दा बढी अध्ययन निष्कर्षहरू यसै भन्छन्।
एसिया, अफ्रिका र ल्याटिन अमेरिकासम्म छरिएका युरोपेली उपनिवेशले बितेका ६ दशकमा आफ्नो बाटो आफैं पहिल्याउने प्रयास गरे। तीमध्ये एसिया सिंगो पश्चिमलाई छाया पार्दै विश्वको ध्यान आफूतिर खिच्दै छ। विश्वशक्तिका रूपमा उदाउँदो चीन। क्षेत्रीय शक्ति भारतका थामिसक्नु आकांक्षा। आर्थिक उतारचढावबीच जापानको सदावहार शक्ति। पश्चिम एसिया खासगरी अरब विश्वमा अमेरिकाले चुकाएका मौकाहरू। दोस्रो विश्वयुद्ध सकिएपछि पनि ठूला–साना युद्धहरूमा अमेरिका र पश्चिमा राष्ट्रको निरन्तर सामरिक शक्ति खर्च। त्यसले सिर्जना गरेका आर्थिक उतारचढावहरू। यिनै आधारहरूमा अब विश्वशक्तिको नयाँ मानचित्र तयार हुने स्पष्ट भइसकेको छ। स्वयं अमेरिका आज सामरिक, कूटनीतिक र आर्थिक उचाइमा पुगेर पनि यो विश्वव्यवस्था एकछत्र हाँक्ने सामथ्र्य गुमाउँदै छ।

के उसो भए विश्व व्यवस्था पूर्व सर्दै गएको हो त? दोस्रो विश्वयुद्ध सकिएदेखि शीतयुद्ध अन्त्यसम्मको साढे चार दशक लामो समयरेखा, अनि त्यस यताका अढाई दशकको लेखाजोखासहित बेलायती लेखक, पत्रकार गाइडियन राचम्यान्ले यसै वर्ष ‘इस्टर्नाइजेसन : वार एन्ड पिस् इन् द एसियन सेन्चुरी’ पुस्तक लेखेका छन्। यो पुस्तकले अनगिन्ती तथ्यांकहरू राख्दै अमेरिका र युरोपले नेतृत्व गर्दै आएको पश्चिमा व्यवस्था अब पूर्व अर्थात् एसिया सरेको दाबी गरेको छ।

इस्टर्नाइजेसन अर्थात्, पूर्वीकरण। रोचक के छ भने यो शब्द निर्माण गर्ने पश्चिमा पत्रकार हुन्। यसअघि ‘जिरो सम् वल्र्ड’ गैरआख्यान् लेखेर सुनाम कमाइसकेका राचम्यान ‘द फाइनान्सियल टाइम्स’ का प्रमुख विश्व मामिला स्तम्भकार हुन्। ‘द इकनोमिस्ट’ म्यागजिनका लागि वासिङ्टन, ब्रसेल्स र बैंककबाट १५ वर्ष लेखेका उनको यसै वर्ष सार्वजनिक ‘इस्टर्नाइजेसन’ ले छोटो अवधिमै चर्चा पाएको छ। चर्चा घनीभूत हुनुका पछाडि उनले एसियाको उदयबारे दिएका नयाँ तथ्य र तर्कहरू नै हुन्। राचम्यान् भन्छन् : दोस्रो विश्वयुद्धपछाडि उदय भएको पश्चिमा साम्राज्यको सुरुआत दुई शताब्दीअघि नै भइसकेको थियो, त्यो अब अन्त्य हुने चरणमा छ। विश्वको शक्ति सम्पूर्ण किसिमले एसियातिर सरिरहेको छ। त्यसैलाई उनले पूर्वीकरण नाम दिएका हुन्।

‘पूर्वीकरण’ को शाब्दिक अवधारणा प्रस्टयाउनेमा राचम्यान अघिल्लो पंक्तिमा देखिए पनि यसअघि फ्रान्सिस फुकुयामा, किशोर महवुवानी, फरिद जकारिया, पंकज मिश्र आदिले यसबारे लेखिसकेका छन्। फुकुयामाले पोहोर जनवरीमा प्रोजेक्ट सिन्डिकेटमा ‘एक्स्पोर्टिङ द चाइनिज् मोडल’ लेखमार्फत चिनियाँ सर्वशक्तिमान राष्ट्रपति सी जिनपिङले ल्याएको ‘वन बेल्ट वन रोड’ अवधारणाले त्यो देश विश्वशक्ति दरिने आधारलाई झन् खुला गरेको लेखे। चीनले जुन स्केलमा पूर्वाधार निर्माण गरेको छ, त्यसको तुलनामा अमेरिका र समग्र पश्चिम नै पछि पर्दै गएकाले त्यो नै उदाउँदो चीनको प्रतिस्पर्धीविहीन आधार बन्न सक्ने उनको तर्क थियो। फुुकुयामा तिनै सिद्धान्तकार हुन्, जसले शीतयुद्ध सकिएको अर्को वर्ष सन् १९९२ मा ‘द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ पुस्तक लेखी संसारभर हल्लीखल्ली मच्चाएका थिए। उनले शीतयुद्ध मात्रै होइन, कुनै पनि किसिमका वैचारिक संघर्षहरूको युग अब सकिने भन्दै कार्ल माक्र्सको विचार विपक्षमा उभिएका थिए। विश्वव्यवस्थालाई पश्चिमले उदार प्रजातन्त्रको मूल्यमा नेतृत्व गर्ने उनको दाबी त्यसमा थियो, जसलाई उनी आफैं पुनर्मूल्यांकन गर्ने चरणमा आइपुगेका छन्।

फुुकुयामा अघि पंकज मिश्रले सन् २०१३ मा ‘फ्रम द रुइन्स अफ् इम्पायर् : द रिभोल्ट अगेन्स्ट द वेस्ट एन्ड द रिमेकिङ एसिया’ पुस्तक लेखी बितेका दुई शताब्दीमा एसियाले युरोपेली उपनिवेशको अंग बन्ने क्रममा थुप्रै राज्यहरू मात्रै होइन, बौद्धिक सांस्कृतिक सम्पदाहरूसमेत गुमाउन पुगेको टिप्पणी गरे। उनले अब त्यसको उत्खनन् गर्नुपर्ने, जुन शक्तिले आफूलाई विश्वकै पुरानो सभ्यताका रूपमा उठायो, त्यसतर्फ फर्केर सभ्यताको खोजी गर्नुपर्ने तर्क गरे।

अर्का बेलायती लेखक मार्टिन ज्याक्सले सन् २००९ मा ‘ह्वेन चाइन रुल्स द वल्र्ड’ लेखी अमेरिका र युरोपले २ सय वर्षयता चलाइआएको संसार हल्लाउन चीन एक्लै पर्याप्त हुने भविष्यवाणी गरेका थिए। आधुनिक हुनु भनेको पश्चिमा जीवनशैली अनुसरण गर्नु हो भन्ने मान्यता अब खण्डित हुने, त्यसलाई चीनले भत्काउने उनको भनाइ अब पुष्टि हुने चरणमै छ। भारतीय इतिहासकार रामचन्द्र गुहाले गत वर्ष सम्पादन र सहलेखन गरेको ‘मेकर्स अफ मोडर्न एसिया’ ले अबको विश्व राजनीति, अर्थतन्त्र र सांस्कृतिक विरासतलाई भारत, चीन, जापान, सिंगापुर, पाकिस्तानले हाँक्ने भन्दै त्यसको जग बसाउने पात्रहरूको स्मरण गरे। पत्रकार जकारियाले सन् २००८ मा प्रकाशित ‘द पोस्ट अमेरिकन वल्र्ड’ मा पछिल्ला ५ सय वर्षको इतिहासलाई समीक्षा गर्दै अमेरिकी शक्तिमा निरन्तर क्षयीकरण भइरहेको, त्यो स्पेस लिनेमा एसियाली देशहरू देखिन थालेको आकलन गरेका थिए। उनले अमेरिकामा पुँजी र श्रमबीच अन्तर्विरोधी संकट देखिन थालेको, विश्वयुद्धपछि पनि अमेरिकाको ध्यान निरन्तर युद्धमै रहेको, अमेरिकी मूल्य मान्यतालाई टक्कर दिन कम्युनिस्ट चीनले शताब्दीऔं अघिको कन्फ्युसियन सभ्यता ब्युँझाउँदै त्यसैको आलोकमा आफूलाई तीव्र गतिमा दौडाउन थालेको, भारतको लोकतन्त्रलाई क्षेत्रीयतावादले सानातिना चुनौतीका बीच पनि विस्तार नै गरिरहेको जस्ता तर्क दिएका थिए। विश्व व्यवस्थाको एसियाकरणबारे लेख्ने अरू पनि थपिँदै छन्। तीमध्ये केही त लोकतन्त्रको पश्चिमा कलेवर नै उप्काइदिनुपर्ने दाबीमा पनि छन्।

पूर्वी ध्रुवलाई नेतृत्व गर्दै पश्चिमा संसारलाई चुनौती दिनेमा चीन पक्कै अघिल्लो पंक्तिमा छ। यी सबै लेखकले भनेझैं खासगरी देङ स्याओ पिङदेखि ३८ वर्षयता चीनले गरेको असाधारण पूर्वाधार विकास र उदार अर्थनीति नै यसको मुख्य कारक हो। अरू एसियाली देशहरूले चीनको विकासबाट लाभांश पाउन थालेका छन्। जाकारियादेखि राचम्यानसम्म सबै लेखकले चीनभित्रको कुण्ठित अभिव्यक्ति स्वतन्त्रता र बहुल विचार निषेधका कारण कुनै पनि बेला असन्तुष्टिहरू अकल्पनीय रूपमा विस्फोट हुन सक्ने सम्भावना भने औंल्याउन छाडेका छैनन्। चीनले चर्को राष्ट्रवादी शैलीबाट नागरिकहरूमा विश्वशक्ति बन्ने सामूहिक भावना निर्माण गर्न खोजे पनि उदारवादीहरूमा असन्तुष्टिहरू देखिन थालेको उनीहरूको साझा दाबी छ।

एक दशकअघि कुनै लेखकले भनेका थिए : हिजोआज अमेरिकी बजारमा नै चिनियाँ दबदबा यति धेरै छ कि ‘अमेरिका इज मेड इन चाइना’ भनी कसैले भन्यो भने अचम्म नमाने हुन्छ। कतिसम्म भने अमेरिकाको राष्ट्रिय झन्डा उत्पादन गर्नेमा चिनियाँ कम्पनीसमेत रहेछन्। आज युरोप, अमेरिका मात्रै होइन, अफ्रिका र अरू एसियाली देशको समेत ध्यान चीनले आफूतिर तानेको छ। पाश्चात्य मुलुकलाई यसरी आकर्षित गर्ने वा तर्साउनेमा चीन एक्लो भने होइन। राचम्यानले वर्षौंयता गरेको अध्ययनअनुसार यो सूचीमा जापान, कोरिया (उत्तर र दक्षिण दुवै), भारत र पाकिस्तान छन्। यो पुस्तक लेखिँदै गर्दा एकातिर पश्चिमा देशहरूमा लोकप्रियतावाद र आर्थिक अराजकता फैलिएको लेखक भनाइ छ। अनि पश्चिम एसिया, खासगरी अरब क्षेत्रमा पश्चिमा वर्चस्व तोड्दै रुस एकछत्र अघि बढेको छ।

गिर्दो अमेरिकी अर्थतन्त्रबीच पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामाले महाशक्ति प्रमुखको शपथ लिएथे। आशाको नारा दिएर चारवर्षे पहिलो कार्यकाल बिताएका ओबामाले समेत अमेरिकी अर्थतन्त्रलाई उकालो लगाउन नसकेको विश्लेषण गर्दै विदेश मामिला लेखक रोबर्ट कागानले सन् २०१२ मा लेखे : अमेरिकाको यस्तै ताल रहिरहने, अनि चीनले यही गतिमा छलाङ हान्दै जाने हो भने अबको दुई दशकभित्र ऊ पहिलो शक्ति बन्ने पक्का छ। राचम्यान लेख्छन्— कागानले दुई दशक भने, तर चीन त दुई वर्षमै पहिलो शक्ति बन्यो, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को घोषणा अनुसार)। (पृष्ठ १४०)

उदाउँदो चीनको चिन्ताले ओबामा कालभरि अमेरिकालाई नछाडेको मात्रै होइन, ५ सय वर्षभन्दा बढी अवधियता एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा कस्तो राजनीतिक व्यवस्था हुने, कस्तो मूल्य पद्धति अपनाउने भन्नेबारे अमेरिका र युरोपले प्रत्यक्ष परोक्ष भूमिका खेलिरहे। अहिले यो विश्वव्यवस्थालाई चीनले दिन प्रतिदिन आफूतिर सम्मोहित गरिरहेको पश्चिमा शक्तिराष्ट्रको बुझाइ छ। पछिल्लो ५० वर्षमा चीन र एसियाका अरू देशको तीव्रतम आर्थिक विकास, पूर्वाधार र प्रविधिको क्रान्ति नै यसको मूल कारक रहेको ठम्याइ छ। कतिसम्म भने सोभियत संघ बन्दासम्म पनि त्यसलाई युरोपकै वैकल्पिक व्यवस्थाका रूपमा बुझ्ने चलन स्वयं पश्चिममा रहे पनि अहिले एसियाली देशको चमत्कारअघि ढलेको सोभियत संघ अनि आज भ्लादिमिर पुटिनले हाँकिरहेको रुस फिका ठानियो।

चीन, जापान, भारत, कोरियाले हाँकिरहेको एसियाली समृद्धिको यो नापोलाई देखाउने अर्को सूचक जनसंख्या पनि मानिएको छ। यसअघि जापान मात्रै एक्लै शक्तिशाली हुँदासम्म जनसंख्या मुख्य तत्त्वका रूपमा अघि आएको थिएन। तर जब चीन र भारत १ अर्बभन्दा बढी जनसंख्यासहित आए, बलियो बन्दै गएका राज्यहरूमुनि मानिसहरूको यो संख्या आफैंमा विश्व थर्काउन समर्थ रहेको राचम्यानको निष्कर्ष छ। सन् २०१२ सम्मको आकडा हेर्दा सैन्य शक्तिमा पनि एसियाका देशहरूले युरोपेली देशहरूलाई उछिनेको, सामरिक शक्ति र संख्यामा समेत अमेरिकाको वर्चस्वलाई चुनौती दिने हदसम्मलाई पछि पारेको पुस्तक बताउँछ। आर्थिक, सामरिक र सफ्ट पावर नै आजको विश्वमा महाशक्ति दरिने सूत्रहरू हुन्, जसमा चीनको उपस्थिति आक्रामक छ।

तर एसियाको समृद्धिसँगै अन्तर्विरोधहरू पनि फैलिने क्रममा छन्, जुन पश्चिमी राष्ट्रहरूको विकासका क्रममा देखिएको थिएन। आजपर्यन्त जापानको भूमिकामाथि अरू एसियाली देश खासगरी चीन र कोरियाका प्रश्नहरू छन्। कार्यकारी प्रमुखहरू एक ठाउँमा भेट भएका बेला इतिहासमा बसेका खाटाहरू उप्काउने प्रयास भइरहेको छ। चीन र कोरियाको दाबी छ, ‘जापानले ब्रिटिस उपनिवेशविरुद्ध लडेर एसियाली देशहरूलाई रक्षा गरेको न्यारेटिभ असत्य हो। बरु बेलायती, फ्रेन्च र पोर्चुगिजजस्तै जापानी पनि आफैंमा अरू देशमाथि प्रभुत्व जमाउन उद्यत थिए।’ जापानको यही रवैयाका कारण तत्तत् देशहरूमा राष्ट्रवादी लहर आजपर्यन्त बाकी रहेको पनि राचम्यान् ठहर्‍याउँछन्।

यो राष्ट्रवादी लहर– जसले पश्चिमालाई सधैं शत्रुका रूपमा चित्रित गर्छ। के एसियाजस्तो अघिल्लो शताब्दीभरि पश्चिमा उपनिवेश भोगेको महादेशका लागि यो सम्पूर्ण सत्य होला त? अझ चीनजस्तो साम्यवादी मुलुक, जसको शिक्षादीक्षामा नै पश्चिमाको नाम किटेर आलोचना भेटिन्छ। (भलै उस बेलाका साम्राज्यवादी जापानीको पनि आलोचना हुन्छ)। लेखक सांघाईमा तीन वर्षअघि एक छात्रासँग डिनर मिटिङ गर्दा छक्कै परेछन्। उनको जिज्ञासाको पूर्ति ती छात्राले यसरी गरिन्, ‘त्यस्तो हँुदै होइन। सन् १९४९ मा साम्यवादी व्यवस्था सुरु भएपछि हामीले जुन खालको निराशा र अपमान बेहोर्‍यौं, बरु त्यसको तुलनामा त १९२०–३० मा युरोपेलीहरूसँग हामीले बहुआयामिक ज्ञान र सीप सिकेका थियौं।’

आफ्नै सरकारमाथि पनि आलोचनात्मक सोच राख्ने युवाहरू चीनमा बढ्दै गएकाले आज बिस्तारै राष्ट्रवादी खेमाभित्रै अर्को उदारवादी धारा जन्मन थालेको राचम्यानको अनुभव छ। त्यसले आफ्नो देशका समस्याहरूको दोष ‘युरोपेली साम्राज्यवादी’ तिर लगाएर पन्छिने सुबिस्ताजनक तर्कपद्धतिसँग असहमति राख्छ। देशभित्र मानव अधिकार र प्रेस स्वतन्त्रताको अवस्था अझै चिन्ताजनक रहेको ठान्छ। त्यस्तै नरेन्द्र मोदीको उदयपछि भारतीय जनता पार्टीको राजनीतिले स्थापना गर्न खोजेको राष्ट्रवादी शत्रुकरण झन् स्थापित हुनुलाई राचम्यान अर्को चिन्ताका रूपमा अथ्र्याउँछन्। अंग्रेज राजले भारतमा धेरै थोक बिगारेकै हो। ऊ आज भारतमा छैन। तर आज भारतमा बसिरहेका १७ करोड मुस्लिमलाई अभारतीय ठान्ने मोदीको राजनीतिक अभीष्ट अंग्रेजलाई दोष लगाएर सफल हुँदैन भन्ने राचम्यानको ठहर हो। स्वाभाविक छ, एक बेलायती पत्रकार भएको हुनाले उनी एसियाप्रति आलोचनात्मक अनि युरोपप्रति केही नरम देखिएका हुन सक्छन्। तर उदाउँदो एसियाप्रति उनको आशावाद युरोप वा पश्चिमाकेन्द्री भने छैन।

सन् ०१७ लागिसक्दासम्म पूर्वीकरणका पनि सीमाहरू विश्व भूराजनीतिक मानचित्रमा देखिन थालिसकेका छन्। तीमध्ये यो पुस्तकमा जोड दिएर उठाइएको विषय हो : निरंकुश शासन। निरंकुशताको यो लहर चीनजस्तो साम्यवादी व्यवस्था अपनाउने मुलुकमा मात्रै होइन, लोकतान्त्रिक पद्धतिबाट चुनिएका राज्य प्रमुखहरूमा समेत देखिएको छ। अर्को हो, जसरी पश्चिमा देशहरूको यो पाँच सयवर्षे उकालोमा सहकार्य र परस्पर भाइचारा मुख्य कारक देखियो, यता एसियाको विरासत भने त्यस्तो छैन। थुप्रै दृष्टान्तहरू राख्दै राचम्यान भन्छन् : परस्पर शत्रुता पहिलो चुनौती हो। दोस्रो चुनौतीचाहिं भ्रष्टाचार।

सर्वाधिक ठूलो अर्थतन्त्र हुँदैमा महाशक्ति राष्ट्र बनिहालिन्छ भन्ने भ्रममा सायद चीन पनि छैन। अमेरिका सन् १८७१ मा पहिलोपल्ट विश्व अर्थतन्त्रको नेता बन्न पुगेको थियो। उसले आफ्नो सामरिक शक्ति, कूटनीतिक क्षमता र त्यहाँको लोकतन्त्रमार्फत विश्वभरि पश्चिमा मूल्य फैलाउन भने वर्षौं लगानी गर्नुपर्‍यो। अझै पनि अमेरिकाले नेतृत्व गरेको, युरोपले ‘पछयाएको’ पश्चिमा मूल्य त्यत्तिकै अवरोहण नहुने लेखक तर्क गर्छन्। चीन–जापान, जापान–कोरिया अनि चीनकै अन्य छिमेकीसँग उतारचढावपूर्ण सम्बन्ध र भारत–पाकिस्तानको अप्ठेरो नाता अबको एसियाको समृद्धि र शक्तिमा समस्यापूर्ण बन्न सक्ने अझै सम्भावना देखाउँछ यो पुस्तकले।

राचम्यानको तर्क मान्ने हो भने अमेरिकाले सन् १८७१ देखि सन् २०१४ बीचमा विश्वलाई नेतृत्व र नियन्त्रण गर्‍यो। सात दशक चलेको सोभियत साम्यवाद ढलेपछि त अमेरिकाको विश्वव्यवस्थामा एकछत्र नै थियो भन्न सकिन्छ। सन् १९९१ यताका दुई दशकमा अमेरिकी शक्ति अकन्टक विस्तार भए पनि उसका आफ्नै सीमाहरू यसबीचमा प्रशस्त देखिए। साना देशहरूप्रति अनावश्यक चासो, सन् २००१ पछि पश्चिम एसियातिर युद्धमा बढी ध्यानजस्ता कारणले धर्मराउँदो अमेरिकी मूल्यमान्यतालाई ओबामाले मानवीय मूल्यसहित पुनर्जागृत गर्न खोजे पनि असफल भएको ठान्नेहरू पनि छन्। अनि अमेरिका र युरोप जतिसुकै सफल, समृद्ध भए पनि विगत ५० वर्षमा चीन, जापान, दक्षिण कोरिया, भारतले गरेको प्रगति अब पछयाएरै नभेटिने गतिमा अघि बढ्नुले पनि विश्व व्यवस्थाको स्वरूप बदलिएको लेखक विश्लेषण छ। यसअघि जाकारिया र मार्टिन ज्याक्सले पनि यस्तै दाबीलाई सघाउँदै लेखेथे।

यी सबै दाबीहरूका बीच एउटा प्रश्न भने बाँकी नै छ— जतिसुकै आर्थिक अस्थिरताबीच पनि पश्चिमा देशहरूले निर्माण गरेको ‘मूल्य’ हल्लिएन। के एसियाली देशहरू भोलिको सम्भावित संकटका दिनहरूमा आफ्नो मूल्यमा अडिएलान्? दुई दृष्टान्त पनि पुस्तकमा छन् : के चीन उदारवादतिर ढल्किँदै गएको साम्यवादको मूल्यमा अडिएला? अनि भारत आन्तरिक समस्यासित जुध्ने क्रममा विश्वकै ठूलो लोकतन्त्रको राजनीतिक मूल्य रक्षा गर्न समर्थ होला?

आशंका र आशा दुवैका झिल्काहरू राचम्यानको पुस्तकमा छन्। जस्तो कि, देङ स्याओ पिङले सूत्र छाडिगएकै छन्, ‘परिस्थितिको सूक्ष्म अवलोकन गर। शान्त भएर सामना गर। जहाँनेर छौ, आफ्नो पोजिसन् लिइहाल। सबैखाले संकेतहरू ठीक ढंगले बुझ। अनि सकिने जति उपलब्धि लिइहाल।’ चीनको साम्यवादी राजनीतिक बाटो नपक्रे पनि अरू एसियाली देशहरूले देङको यो सिको गर्ने सम्भावना भने त्यत्तिकै बलियो छ। विश्वव्यवस्थाको ‘रिमोट कन्ट्रोल’ अब एसियाबाट चलाउने साझा स्वार्थ जो छ।

कोसेली

नेलकटर

- उदय प्रकाश

साउनमा घाँस र वनस्पतिको हरियो रङमा हल्का अँध्यारोजस्तो रङ मिसिएको हुन्छ। हावा गह्रौं र तरल । हावामा पानीका कण मिसिएर उडिरहेका हुन्छन् । त्यति बेला म नौ वर्षको थिएँ ।यसै महिना राखी बाँधिन्छ । श्रावण पूर्णिमा (कजरी पूनम) हुन्छ । नागपञ्चमीमा गोबरका सातवटा नाग बनाइन्छ । दुनामा दूध र खट्टेको लड्डु राखेर हामी सर्पका काँचुली खोज्न जान्थ्यौं । हरियरी औंसी (श्रावण औंसी) पनि यसै महिना पर्छ । म अग्ला–अग्ला बाँस ल्याएर तिनलाई खुट्टा टेकेर हिँड्न मिल्ने बनाउँथें र तिनमा चढेर अग्लो भएर हिँड्थें । त्यस बेला मेरो उचाइ बाह्र फुट जति हुन्थ्यो होला ।

आमाको कोठा घरको दक्षिणपट्टि थियो । बम्बईको टाटा मेमोरियल अस्पतालबाट उहाँलाई ल्याइएको थियो । आमाले केही खानु हुन्थेन, खालि अनारको रस मात्रै पिउनुहुन्थ्यो । बोल्न पर्दा उहाँ आफ्नो घाँटीमा डाक्टरले बनाएको प्वालमा औंला राख्नुहुन्थ्यो । त्यहाँ एउटा पाइप (टयुब) लगाइएको थियो । त्यसैबाट उहाँ सास फेर्नुहुन्थ्यो । उहाँको आवाज निकै मधुरो, चिसो र कमजोर हुन्थ्यो । कुनै यन्त्रको जस्तो आवाज । मानौं, कोठाभित्र मधुरो आवाजमा रेडियो बजिरहेको छ र बाहिर मेघ गर्जनसहित साह्रै ठूलो पानी परिरहेको छ, बिजुली चम्किइरहेको छ । अथवा, कुनै दुई स्टेसनबीच समय कतै अड्किएजस्तो !

बोल्दाखेरि आमालाई पीडा हुन्थ्यो । यसैले उहाँ कम बोल्नुहुन्थ्यो । त्यो यन्त्रको जस्तो आवाजमा हामी आमाको पुरानो बोली खोज्ने प्रयास गथ्र्यौं । कहिलेकाहीँ हामी आमाको पहिलेको आवाजको अंश भेट्टाउँथ्यौं पनि । त्यस बेला हामी आमालाई भेट्थ्यौं, जुन आमा हाम्रो स–सानो स्मृतिमा हुनुहुन्थ्यो । तर, आमालाई सुन्न भने सबै चीज मन लाग्थ्यो । सबै कुरा । जब हामी बोल्थ्यौं, झगडा गथ्र्यौं, कराउँथ्यौं वा कसैलाई बोलाउँथ्यौं, आमा निकै व्यग्र भएर हाम्रो आवाज सुन्नुहुन्थ्यो । सायद, हाम्रा शब्दले उहाँलाई सन्तोष दिन्थे ।

उहाँको आँखा मात्रै यस्तो चीज थियो, जसलाई हेर्दा मलाई लाग्थ्यो, आमा कहीँ जानुहुने छैन (मेरो पूरा जीवनभर उहाँ यहीँ रहनुहुनेछ) । म सधैंका लागि उहाँको उपस्थिति चाहन्थें । चाहे त्यो उपस्थिति कुनै चित्र वा मूर्तिको जस्तो किन नहोस् । शब्दहीन, आवाजहीन भए पनि फरक पर्थेन । तर, म चाहन्थें त्यो उपस्थितिमा उहाँ जिउँदै भएको विश्वास होस् ।

म कहिलेकाहीँ साह्रै डराउँथें र रुन्थें पनि । आफ्नो जीवनमा अचानक म एउटा रिक्तता देख्थें (एकदम खाली ठाउँ) । त्यो साह्रै डरलाग्दो हुन्थ्यो । त्यस दिन आमाले मलाई बोलाउनुभयो । बाहिर चउरको घाँस गाढा हरियो थियो । आकाशमा बादल मडारिरहेको थियो । हावा गह्रुँगोजस्तो लाग्थ्यो । त्यो पानीका कणले भिजेको हावा थियो । आमाले मेराअगाडि आफ्नो मुठी खोलेर हात फैलाउनुभयो । उहाँको दाहिने हातको साइँली औंलाको नङ एकापट्टि भाँच्चिएर खुँडे भएको थियो । यसले उहाँलाई सकस भइरहेको थियो ।


देख्नेबित्तिकै मैले आमाको कुरा बुझें । नेलकटर ल्याएर आमाको पलङमुनि भुइँमा बसें । नेलकटरमा भएको रेतीले घोटेर उहाँको त्यो नङलाई बराबर बनाउनुपर्ने थियो । मैले यो काम गरिदेओस् भन्ने आमा चाहनुहुन्थ्यो । त्यो नेलकटर बुबाले दुई वर्षपहिले कुम्भमेलाबाट फर्किने बेला इलाहावादबाट ल्याउनुभएको थियो । नेलकटरमा एउटा नीलो काँचको सानो सितार झुन्डिएको थियो ।

आमाका औंला साह्रै साना भएका थिए । कत्ति पनि रगत नभएजस्ता । छाला पनि पहेंलिएको थियो । चङ्गाको कागजजस्तो, पातलो । पहेंलो पनि होइन, फुर्सो । एकदम चिसो औंला । यस्तो चिसोपना, जुन कुर्सी, मेच, ढोका वा साइकलको हयान्डलजस्ता निर्जीव चीजमा हुन्छ ।
उहाँको हात यति हलुङ्गो कसरी हुन सक्छ? हातको सारा वजन कहाँ गयो? त्यो भार नै सायद जीवन हुन्छ होला, जसलाई पृथ्वीले आफ्नो चुम्बकद्वारा आफूतर्फ तान्ने गर्छ । यो जीवन आमासँग निकै कम मात्र बाँकी थियो किनभने पृथ्वीले उहाँलाई तान्न बिस्तारै छोडिरहेको थियो ।
उहाँको हात मेरो हातमा थियो । म बिस्तारै नेलकटरको रेतीले उहाँको नङ घोटिरहेको थिएँ । म उहाँका नङलाई निकै सुन्दर, ताजा र चम्किलो बनाउन चाहन्थें ।

नङ मिलाउँदा मिलाउँदै म एक पटक हाँसें । त्यसपछि मुस्कुराइरहें । आमालाई ढाडस दिने र उहाँलाई खुसी बनाउने यो मेरो आफ्नै तरिका थियो । नङ मिलाउँदै मैले आमालाई हेरें । रेतीले बिस्तारै नङ घोटिरहँदा उहाँले बडो आनन्द मानिरहनु भएको थियो । उहाँको अनुहारमा त्यो आनन्दको रङ पोतिएको थियो । त्यो आनन्द एक ठाउँमा मात्र होइन, शरीरभरि फैलिएको थियो । उहाँका आँखा बन्द थिए । मलाई पूरा एक घन्टा लाग्यो । तर, मैले एउटा मात्र होइन, सबै औंलाका नङ सुन्दर बनाइदिएँ । आमाले आफ्ना औंलाहरू हेर्नुभयो । त्यो कति कमजोर र हारको क्षण होला, जब तपाईंलाई नङले जीवनको विश्वास दिन्छन् । नङहरू सुन्दर र चिल्ला भएका थिए ।

आमाले मेरो कपाल मुसार्नुभयो । उहाँ केही बोल्न चाहनुहुन्थ्यो तर मैले उहाँलाई रोकें । बोल्न पाएदेखि उहाँले सोध्नुहुने थियो— मैले टाउको किन ननुहाएको? कपालमा साबुन किन नलगाएको? टाउकोमा यति धेरै धूलो किन छ? कपाल किन नकोरेको?रात चिसो थियो । बाहिर ठूलो पानी परिरहेको थियो । साउनको नि:शब्द रातमा माथिमाथि आकाशबाट झरेको पानीको स्वर बेग्लै हुन्छ । एउटा गम्भीर आवाज । यस्तो आवाज मानौं, संसारको सबै हावा एउटा ठूलो भाँडोभित्र एकोहोरो घुमिरहेको छ । सबैतिरबाट बन्द भाँडोभित्र !

बिहान पाँच बजे । आँगनमा पाँच जना आइमाई रोइरहेका थिए । यो रुवाइ थिएन, विलाप थियो । मैले थाहा पाएँ, आमा राति निद्रामा नै समाप्त हुनुभयो । आमा सिद्धिनुभयो ।मैले फेरि कहिल्यै उहाँका घोटिएका नङ देखिनँ । मैले त्यस रात सुत्नुभन्दा अघि मेरो सिरानीमुनि नेलकटर राखेको थिएँ । मैले त्यो नेलकटरलाई निकै खोजें । आजसम्म खोजिरहेको छु । कैयौं वर्षपछि पनि । तर, त्यो आज पनि भेटिएको छैन । थाहा छैन, त्यो
कहाँ हरायो । हुन सक्छ, त्यो सजिलै भेट्न सकिने नजिकैको ठाउँमा राखिएको होला । तर, मैले बिर्सिएका कारण नभेटिएको हुन सक्छ । म अक्सर त्यसको खोजमा लाग्छु । किनभने, चीजहरू कहिल्यै हराउँदैनन् । ती त्यहीँ रहन्छन्, आफ्नो पूरा अस्तित्व र वजनका साथ । खालि हामी तिनका ठाउँ मात्र बिर्सिन्छौं ।
(शनिबार सार्वजनिक हुने उदय प्रकाशका कथाहरूको संग्रह ‘नेलकटर’ बाट यो कथा लिइएको हो। यी कथाहरूको नेपाली अनुवाद यज्ञशले गरेका हुन्।)

Page 23
कोसेली

‘मूसालाई वेद पढाउने’ मान्छे

- ईश्वरचन्द्र बुढाथोकी

चन्द्रप्रसाद’ उनका लागि नामभन्दा बढी निधारमा लगाइदिएको चिनो थियो। आफ्नो सामथ्र्यले उनले आफूले आफैंलाई बनाए र एउटा अलग्गै नाम दिए, हृदयचन्द्रसिंह। त्यो नै उनको खास नाम बन्यो। हृदयचन्द्रसिंह प्रधान, यो त्यही नाम हो जसले उनको सम्पूर्ण जीवन र लेखनलाई बयान गर्न खोज्छ।

जीवनको ४४ वसन्त मात्र भोगेका हृदयचन्द्रसिंहको जीवन जेरीजस्तै जेलिएको थियो तर जेरीजस्तो गुलियोचाहिँ थिएन।
आधुनिक नेपाली साहित्यमा दरिलो दख्खल दिएका साहित्यकार हृदयचन्द्रसिंहको जन्म १९७२ माघ १२ गतेका दिन काठमाडौँको मरुहिटीस्थित एक मध्यमवर्गीय परिवारमा भएको थियो। बाल्यकाल औपचारिक शिक्षाको रेखाबाट बाहिरै बिताएका उनलाई पाँच वर्षको उमेरदेखि नै दमले ङयाकेको थियो। रोगी भएकै कारणले पनि यिनमा पढाइको कर परेन। १७ वर्षको उमेरमा बल्ल दमबाट केही राहत पाएपछि मात्रै यिनी पढाइतिर लागे। साधारण शिक्षा उनले घरमै लिए। एक वर्षको स्कुले शिक्षाको अवधिमा उनले नेपाली स्रेस्ताको चार पास मात्रै गरे। त्यसपछि उनले जे जति शिक्षा पाए त्यो स्वतन्त्र अध्ययन र अभ्यासबाटै पाए।

हृदयचन्द्रसिंह स्वयंले निरीक्षण गरेको र भोगेको यथार्थलाई आफ्नो लेखनमा कलात्मक सौन्दर्यसाथ बान्किला पारामा अभिव्यक्त गरेका छन्। काव्यात्मक शैलीका उनका निबन्ध, आख्यान तथा नाटकहरू पनि पढ्नयोग्य छन्। आफ्ना कुरालाई कस्तो शब्द र वाक्यमा भन्नुपर्छ भन्नेमा उनी सिपालु लेखक हुन्। उनी कसैको पछि नलागी आफैंले बेग्लै बाटो बनाएर हिँडेका थिए। हृदयचन्द्रसिंह सहानुभूतिका लागि पढ्नुपर्ने लेखक पनि होइनन्। तथापि केही नेपाली आलोचकहरू उनीप्रति सहानुभूति राख्छन् भने केही आलोचक उनीप्रति उदासीन देखिन्छन्। केहीले उनको विशिष्टतालाई खोज्नुको साटो उनका सीमित रचनालाई ध्यानमा राखेर समालोचना गरिदिँदा पनि उनका केही विशेषता छायामा पनि परेका छन्।
हृदयचन्द्रसिंहले पनि साहित्य लेखनको प्रारम्भ कविताबाटै गरेका थिए। एउटा कविता लेखर हौसिँदै उनी कहलिएका कवि लेखनाथ पौडेललाई देखाउन गएका थिए। तर लेखनाथले उनको झाँको यसरी झारिदिए कि कविता लेखेर उनले ठूलो गल्ती गरेका छन्। अझ हृदयचन्द्रसिंहमा अल्पशिक्षा मात्र भएको थाहा पाएर लेखनाथले कविता लेख्नु उनका निम्ति असम्भव भएको भनेर फर्काइदिए। कविवर लेखनाथको तिरस्कारले हृदयचन्द्रसिंहको जीवनमा इन्धनको काम गर्‍यो। त्यसपछि उनी अजेय निश्चयका साथ स्वतन्त्र अध्ययन र लेखनमा जुटेका थिए।

हृदयचन्द्रसिंहले हौसला र धैर्यको सहाराले शब्दकोशलाई अगाडि राखेर शब्द ज्ञान बढाउँदै लगे। महिनौंको प्रयासपछि उनले लेख्न सिके। उनको प्रकाशित भएको पहिलो रचना ‘मातृस्नेह’ शीर्षकको प्रबन्ध थियो। त्यसलाई लेख्न उनले तीन महिना लगाए। एकजना पढेका साथीले छ/सात पटक संशोधन गरिदिएपछि बल्ल त्यो तयार भएको थियो। त्यति बेला उनी १८ वर्षका थिए र त्यही रचनाबाट उनले आफ्नो नाम चन्द्रप्रसादलाई फेरेर हृदयचन्द्रसिंह राखेका थिए।

हृदयचन्द्रसिंहको साहित्यिक पत्रकारितामा पनि उल्लेखनीय योगदान छ। उनैको सम्पादनमा प्रकाशित भएको मासिक पत्रिका ‘साहित्य–स्रोत’ त्यति बेलाको उत्कृष्ट साहित्यिक पत्रिकामध्येको एक थियो। त्यही पत्रिकामा पहिलोपल्ट उनले शंकर लामिछानेको लेख ‘हाम्रो समाजमा नारीको मूल्य’ लाई प्रशंसा गर्दै छापिदिएका थिए। तिनै शंकर लामिछानेले आफ्नो पुस्तक ‘बिम्ब प्रतिबिम्ब’ मा हृदयचन्द्रसिंहका बारेमा लेखेका छन्, ‘उहाँमा के छ त्यस्तो, जो लेख्ने विषय बनाऊँ। उहाँमा जे पनि छैन छ। पढ्न सकेको छैन, लेख्न सकेको छैन,पैसा बटुल्न सकेको छैन, नाउँ कमाउन सकेको छैन। उहाँ न हृदयचन्द्र हो न सिंह। हृदयका कुरा भनूँ भने क्षयरोगले ग्रहण लगाएको छ। सिंहको कुरा हो भने उहाँमा सिंहझैं झम्टेर हातमा सिकार लिन सक्ने क्षमता पनि छैन। ...मैले नहिले पनि उहाँको बारेमा सोचेँ मेरो मनमा एउटा विचार अनायास आयो— यस मान्छेमा यस्तो चीज छैन, छैन जसलाई पाउन यो मान्छे सधैँ अटुट परिश्रम गरिरहेछ। अनुहारमा थकाइको स्पष्ट झलक लिएर ऊ अझ परिश्रम गर्नु दुस्साहस गर्दछ।’
फर्मासी अड्डामा नौसिन्दाको जागिर खाएका हृदयचन्द्रसिंहले पछि नेपाली भाषा प्रकाशन समितिमा ग्रन्थकार भई काम पनि गरे। दरबार हाइस्कुल र स्रेस्ता पाठशालामा केही समय पढाए पनि। २००४ मा ‘नेपाल साहित्य परिषद्’ ले गरेको निबन्ध प्रतियोगितामा उनको ‘जुँगा’ शीर्षकको निबन्ध प्रथम भयो। त्यसैताका शब्द–शुद्धि विज्ञानका लागि केशरशमशेरले पनि उनलाई नगदसहित पुरस्कृत गरेका थिए। २००५ सालमा विराट साहित्य सम्मेलनमा उनले सुनाएको निबन्ध ‘मूसालाई वेद पढाउने धुनमा’ का कारण भने उनले निकै तनाव झेल्नुपरेको थियो। तत्कालीन सरकारले उनीमाथि अनेक आरोप लगाई त्यो निबन्धमाथि आपत्ति जनाएको थियो। ६ महिनाको रस्साकस्सीपछि उनले सुखको श्वास फेरेका थिए।

२००७ को क्रान्तिमा सहभागि उनलाई कार्यालयबाटै गिरफ्तार गरियो। क्रान्ति सफल भएपछि अढाई महिनादेखि काराबासमा रहेका उनी मुक्त भए। जेलमुक्त भएपछि उनले राजनीतिक पत्रिका ‘जागरण साप्ताहिक’ मा सम्पादक भएर काम गरे। काठमाडौं नगरपालिकाको मुखपत्र ‘जनचेतना’ को पनि सम्पादन गरे । आफ्नो कलमलाई उज्यालोको मसीमा चोपेर जीवनको अध्यारोमा खनाइरहेका उनले चेतनाको अन्तर्यात्रामा भने भीषण मानसिक यातना भोगिरहेका थिए। उनी बिना स्याहारका त्यो जंगली बिरुवाजस्तै थिए जसको पात आँधीहुरी र असिनापानीले झारिदिएको छ र पनि सकीनसकी उभिरहेको छ।

विपन्नताकै कारण उचित औषधोपचार गर्न नसकिरहेका उनलाई २००७ पछि तत्कालीन राजा त्रिभुवनले दरबारमै बोलाएका थिए। दम र क्षयरोगको उपचारसँगै बस्नलाई राम्रो आवासको व्यवस्था मिलाइदिने त्रिभुवनको प्रस्तावलाई उनले स्विकारेनन्। सट्टामा उनले त्रिभुवनसित ‘जागरण साप्ताहिक’ का लागि अन्तर्वार्ता मागे र उनी अन्तर्वार्ता लिएर फर्के। भनिन्छ, त्रिभुवन हृदयचन्द्रसिंहका किताब दरबारमा मगाएर पढ्ने गर्थे। लेखकका रूपमा हृदयचन्द्रसिंह त्रिभुवनका प्रिय थिए। तथापि त्रिभुवनबाट फाइदा लिन उनले पटक्कै चाहेनन्।

बरु, हृदयचन्द्रसिंहले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री (साहित्यकार पनि) बीपी कोइरालासित भने औषधोपचारका लागि सहयोगको अपेक्षा गर्दै भेट गर्न खोजेका थिए। तर उनको अपेक्षामाथि उपेक्षा भयो। यद्यपि विश्वेश्वर हृदयचन्द्रसिंहका लागि गोठाले र विजय मल्लजस्तै प्रिय कथाकार रूपमा रहिरहे। हृदयचन्द्रसिंहको जीवनको पहिलो र अन्तिम शत्रु भनेकै क्षयरोग थियो। क्षयरोगले पछारेपछि उनले केही समय टोखास्थित ‘टोखा स्वास्थ्य निवास’ मा उपचार गराए। त्यहाँ उनको स्वास्थमा अपेक्षाकृत सुधार नभएकाले उनी भारतको मद्रास स्थानिटोरियममा उपचारका लागि गए। जहाँ उपचारका क्रममा उनको ७ वटा करङ काटियो, त्यसपछि उनी रोगमुक्त भई नेपाल फर्किए ।

शारीरिक स्वास्थ्य खराब भए पनि हृदयचन्द्रसिंह मानसिक रूपमा सदैव स्वस्थ रहे। उनले रोगी मानसिकता र जीर्ण चिन्तनको कहिल्यै प्रदर्शन गरेनन्। न रुन्चे साहित्य नै लेखे। जनमुखी साहित्य नै उनको लेखनको केन्द्रीयतामा रहयो। समाजको वस्तुस्थिति र अन्तरविरोधलाई नै उनले केलाइरहे। । तत्कालीन समाजको अहंमा भने उनले निरन्तर प्रहार गरिरहे।

हृदयचन्द्रसिंहको दुर्भाग्य कि उनको निको भइसक्यो भनिएको व्यथा फेरि बल्झिदियो। तत्कालीन भारतीय राजदूत भगवान सहायको पहलमा २०१४ सालमा उनलाई उपचारका लागि भारतको भोपाल पठाइयो। हृदयचन्द्रसिंह उपचारको क्रममा भोपालमा अढाई वर्ष बसे। केही सुधार आएपछि उनी नेपाल फर्कन चाहे, सायद न्यास्रिएका थिए। डाक्टरहरूले अझै केही समय भोपालमै बस्नुपर्छ भनेका थिए तर उनले मानेनन्। फर्किने नै भएपछि डाक्टरहरूले दैनिक नियम, औषधि सेवन तथा परहेजका बारेमा एउटा तालिका लेखेर पठाए। यदि त्यस तालिकालाई पालना गर्ने हो भने हृदयचन्द्रसिंहको अरू १४/१५ वर्षसम्म आयु लम्बिने पनि डाक्टरहरूले बताएका थिए।

भोपालका डाक्टरले उनको स्वास्थ्यस्थिति र आगामी दिनमा उनले पालन गर्नुपर्ने नियमहरूबारे सूचना राजदूत सहायलाई पनि दिएका थिए। राजदूत सहायले पनि थापाथलीमा उनका लागि सुहाउँदो बगैंचासहितको घर किनेर दिन चाहेका थिए । सहायले पटक–पटक प्रस्ताव स्विकार्न अनुरोध गरे तर हृदयचन्द्रसिंहले मानेनन्। अन्तमा सहायले ‘केही त गर्न दिनुस्’ भने। त्यसपछि हृदयचन्द्रसिंहले भोपालमा बस्दा हिन्दीमा लेखेको आत्मपरक निबन्धका किताब ‘ऐसा मै सोचता हुँ’ लाई छापिदिनुस् भने। केही समयपछि सहायको कार्यकाल पूरा भयो। उनी भारत फर्किने भए। फर्कंदा हृदयचन्द्रसिंहको त्यो निबन्ध किताब छाप्ने सम्पूर्ण व्यवस्था मिलाइदिए। त्यसको केही समयपछि हृदयचन्द्रसिंह पनि नफर्कने बाटो लागे। २०१६ साल माघ १० गते हृदयचन्द्रसिंह सधैंका लागि धर्ती छाडे। पुस्तक छापिएर आउँदा ढिलो भइसकेको थियो। उनले त्यो पुस्तकको मुख पनि हेर्न पाएनन्।

निबन्धकारका रूपमा हृदयचन्द्रसिंह कतै उत्तेजित छैनन्। पेचिलो टिप्पणी र सन्दर्भहरूले उनका निबन्धहरूलाई अत्यन्तै चोटिलो बनाएको छ। प्रारम्भमा छन्द कविता लेखेका उनले पछि छन्दलाई छोडेर गद्यतिर लागे। उनले थोरै गद्य कविता लेखेका छन्। ‘एउटा गरिब’, ‘छोरोसित’ लगायत आठ दसवटा कविता नेपाली साहित्यकै उपलब्धि मान्न सकिने खालका छन्। कथा, उपन्यास, नाटकमा पनि उनले स्तुत्य प्रयास गरेका छन्। ‘समालोचना’, ‘शब्द–शुद्धि विज्ञान’, ‘चिन्ह परिचय’ जस्ता पुस्तकमा गरेको काम पनि उल्लेखनीय र विशिष्ट छ। नेपालभाषामा पनि उनका थुप्रै सिर्जनाहरू छन्।

हृदयचन्द्रसिंह लेखन मानिसको अन्तरवेदनालाई आम मानव जगत्मा प्रस्तुत गर्ने कुरामा अब्बल छ। उनका उपन्यासहरू ‘एक चिहान’ र ‘स्वास्नीमान्छे’, निबन्धहरू ‘जुँगा’ र ‘तीस रुपियाँको नोट’, समालोचनाहरू ‘भानुभक्त एक समीक्षा’, ‘नेपाली काव्य’ र ‘प्रतिनिधि कवि’ छन्। साथै ‘गंगालालको चिता’ सहित थुप्रै एकांकी नाटक तथा कविताहरूले साहित्यले शासन सत्ता र राजनीतिक वादहरूमा रुमल्लिएको समाजलाई ब्युँझाउने कोसिस गरेका छन् उनले। समाजको दु:ख बोल्ने, मानिसका गरिबी, अभाव, दु:ख र पीडाको मल्हम बन्ने साहित्य नै हृदयचन्द्रसिंह दिएका छन्।
(कृष्णप्रसाद पराजुलीको ‘पन्ध्र तारा र नेपाली साहित्य’, शंकर लामिछानेको ‘बिम्ब प्रतिबिम्ब’ लगायतका हृदयचन्द्रसिंहबारे लेखिएका विभिन्न लेखहरूमा आधारित।)

कोसेली

सामसङ साम्राज्य कतिन्जेल ?

कुनै बेला फिनल्यान्डको अर्थतन्त्रको मेरुदण्ड मानिएको नोकिया अहिले धराशायी भइसकेको छ। र, अहिले दक्षिण कोरियाली अर्थतन्त्रको मुख्य हिस्सा बनेको कम्पनीले पछिल्ला महिना लगातार समस्या झेलिरहेको छ।
- विजय तिमल्सिना

यदि तिमीलाई आफूले किन जितें भन्ने कारण थाहा छैन भने त्यो निकै खतरनाक हुन्छ,’ प्रविधि समीक्षक वेन थोम्सनले एक अन्तर्वार्तामा भनेका थिए। सामसङ–स्मार्टफोनको बजारमा खस्कँदो साखप्रति लक्षित उनको भनाइको तात्पर्य हो, ‘आफ्नो जितको कारण थाहा नभएको विजयीले जुनसुकै बेला पनि हार्न सक्छ र उसलाई हारको कारण पनि थाहा नहुन सक्छ।’ केही वर्षअघिको थोम्सनको यो टिप्पणी अहिले आएर सामसङको भविष्यसँग मिल्ने पो हो कि भन्ने भान धेरैलाई पर्न सक्छ। किनकि, पछिल्ला महिना सामसङले यस्तै अप्ठेरो परिस्थितिसँग जुध्दै छ, थाहै नपाई ऊ यस्ता समस्यामा अल्झिएको छ। 

विश्वका लागि सामसङको पहिलो परिचय स्मार्टफोनसँग सम्बन्धित होला तर दक्षिण कोरियाका लागि यो अर्थतन्त्रको मेरुदण्ड हो। जस्तो कुनै बेला फिनल्यान्डका लागि नोकिया थियो। पानीजहाज उत्पादनदेखि विज्ञापन एजेन्सी, रेफ्रिजेरेटरदेखि एयर कन्डिसनर– सामसङ नाम सबै चीजसँग जोडिएको छ जुन मानिसले दैनिक जीवनमा अनुभव गर्छन्। दक्षिण कोरियाको जीडीपीको २३ प्रतिशत हिस्सा सामसङले ओगट्छ र यसको निर्यातको २ प्रतिशत हिस्सा सामसङको स्मार्टफोनले धानेको छ।
सामसङ ग्रुपअन्तर्गत चार दर्जनजति कम्पनीमध्ये सामसङ हेभी इन्डस्ट्रिज विश्वकै दोस्रो ठूलो पानीजहाज उत्पादक हो। सामसङ इन्जिनियरिङ विश्वकै १३ औं ठूलो कन्स्ट्रक्सन कम्पनी र सामसङ लाइफ इन्स्योरेन्स विश्वकै १४ औं ठूलो बिमा कम्पनी मानिन्छ। सामसङ ग्रुपअन्तर्गतकै चेल वल्र्डवाइड सन् २०१२ को तथ्यांकअनुसार विश्वकै १५ औं ठूलो विज्ञापन एजेन्सी हो।

यी र यस्तै सफल व्यवसायले सामसङलाई विश्वकै ठूलो ब्रान्डमा पार्न सफल भएको हो र दक्षिण कोरियाको यो अभिन्न अंग बनेको हो। कम्पनी स्थापनाको झन्डै ८ दशकको इतिहासमा पछिल्ला केही दशक सामसङले आफूलाई फराकिलो पारेको हो। पछिल्लो दशकमा यसको विस्तार हेर्दा लाग्छ, कम्पनीले जताततै जितिरहेको छ। दक्षिण कोरियाली जनताको दैनिकीमा जोडिने हरेक सामानको उत्पादन र व्यवसाय सामसङका कारण दक्षिण कोरियालाई व्यंग्य गर्दै भनिन्छ, ‘रिपब्लिक अफ सामसङ।’ यसले बजारमा एप्पलको आइफोनलाई जितेर सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनी बनेको पनि केही वर्ष मात्रै भयो। स्मार्टफोनबाट धेरै नाफा कमाउने कम्पनीको सूचीमा यो एप्पलभन्दा पछाडि दोस्रो नम्बरमा पर्छ। यसले खडा गरेको बजार–साम्राज्य केही वर्ष अझैं उभिनेछ।

यसले ‘नेक्स्ट बिग थिङ’ को नारा दिएर सन् २०११ म सुरु गरेको अभियानअन्तर्गत एप्पलको आइफोनलाई धेरै बिक्री हुने स्मार्टफोनको सूचीमा पछि पारेको थियो। ठूलो स्क्रिनसहितका ग्यालेक्सी सिरिजका उसको स्मार्टफोनले सामसङलाई स्मार्टफोन बजारको ‘विजयी ब्रान्ड’ बनाएको थियो। आइफोन जत्तिकै ‘फिचर्स’ र उसकोभन्दा कम मूल्यका स्मार्टफोनले प्रयोगकर्तालाई आइफोनको विकल्प दिएको थियो। तर, प्रतिस्पर्धामा
अघि बढिरहेको कम्पनीले आफू पछाडि आइरहेको अर्को कम्पनीलाई नदेख्नु अर्को भूल हुन सक्छ।

जसरी सन् २०१० पछि आइफोनलाई सामसङले पछयाएको थियो, ठीक उसैगरी अहिले चिनियाँ स्मार्टफोन उत्पादक जिओनी र ह्वावेले स्मार्टफोन बजारमा सामसङलाई पछयाइरहेका छन्। बजार ट्रेन्ड हेर्दा लाग्छ त्यो दिन धेरै टाढा छैन जुन दिन यी कम्पनीले सामसङलाई बिक्रीको हिसाबमा पछि पार्नेछन् किनकि एन्ड्रोइड फोन बोक्ने प्रयोगकर्ताका लागि सामसङको फिचरमा प्रतिस्पर्धा गर्ने स्मार्टफोन यिनले उत्पादन गरिरहेका छन् र त्यसको झन्डै आधा मूल्यमा बेचिरहेका छन्। र, जिओनी र ह्वावेको वार्षिक बिक्री वृद्धि अन्य स्मार्टफोन कम्पनीको भन्दा बढिरहेको छ।

हुन त स्मार्टफोन मात्रै सामसङको परिचय होइन् तर विश्व बजारमा सामसङको पहिलो पहिचान यही नै हो। र, यसको सफलता र असफलताले विश्व बजारमा सामसङको साख निर्धारण गर्छ। जसरी, आइफोनको एप्पलले र गुगलको सर्च इन्जिनले गर्छ। बजार टिक्न पहिला उत्पादन र उत्पादकको साख प्रयोगकर्ताको नजरमा राम्रो रहिरहनु आवश्यक छ। यदि यसो हुने हो भने बजारमा आउने सामान्य घटबढले यस्ता कम्पनीलाई प्रभाव नपार्न सक्छ, जसरी आइफोन बिक्रीमा आउन सामान्य उतारचढावले एप्पललाई असर गरेको छैन। किनकि कम्पनीसँग त्यो हैसियत रहिरहन्छ जसले पुन: नम्बर एक बनाउन सघाउनेछ।

सामसङले आफूभन्दा राम्रो उत्पादकको रूपमा एप्पलसँग प्रतिस्पर्धा गरिरहेको थियो र आफ्नो विकल्प दिने कम्पनीको रूपमा जिओनी र ह्वावेसँग पनि प्रतिस्पर्धा गरिरहेकै छ। यसलाई बजार प्रतिस्पर्धाको सामान्य नियम मान्दा केही फरक नपर्ला तर २०१६ को अन्त्यतिर सामसङले पछिल्लो ५–७ वर्षयता स्मार्टफोन बजारमा पाइरहेको सफलतामा एउटा ब्रेक लगाउनुपर्‍यो। उसले आफ्नो अहिलेसम्मकै राम्रो स्मार्टफोन भन्दै दाबी गरेको ग्यालेक्सी नोट सेभेन बिक्री सुरु हुनेबित्तिकै पड्किन थालेको खबरहरू बाहिरिए र कम्पनीले बजार पठाएका सबै फोनहरू फिर्ता लिंदै यसको उत्पादन बन्द भएको घोषणा गर्नुपर्‍यो।

सामसङले पछिल्लो साता घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्दै ब्याट्रीमा आएको समस्याले फोन पड्किएको निष्कर्ष निकालेको छ आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएको छ। नोट सेभेनको असफलताले उसको बजार मूल्यमा २६ मिलियन डलरको गिरावट आएको र उसलाई ५ बिलियन डलरभन्दा बढी घाटा लागेको प्रक्षेपण थियो। तैपनि सामसङ इलेक्ट्रोनिक्स घाटामा गएको छैन किनकि स्मार्टफोन मात्रै उसको बजार हिस्सा होइन।


सुरुआती लन्चमा बजार पठाइएको करिब २५ लाख स्मार्टफोन डिभाइस फिर्ता लिएपछि कम्पनीले अर्को समस्या झेल्नुपर्‍यो। प्रयोग भइरहेका ७ सय बढी वासिङ मेसिन पड्किएको तथ्यांक आयो। त्यसपछि उसले नोभेम्बरमा बजारमा रहेका आफ्ना २८ लाख वासिङ मेसिन फिर्ता लियो।
समस्या यतिले मात्रै टुंगिएन, नोभेम्बरमा दक्षिण कोरियाली राष्ट्रपति पार्क गयुन हेइको विवाद काण्डमा फेरि सामसङ मुछिन पुग्यो। पार्कका सहयोगीले स्थापना गरेको फाउन्डेसनलाई पैसा दिएको र त्यसबापत कम्पनीको पक्षमा फाइदा लिएको आरोपमा कम्पनीका उपाध्यक्ष ली जे योङलाई पक्राउ गर्नुपर्ने पक्षमा छन्, कोरियाली सरकारी वकिल। योङ सामसङ अध्यक्ष ली कुन हेका छोरा हुन्। र, पद उपाध्यक्ष भए पनि वास्तवमा उनले नै कम्पनीको नेतृत्व लिइरहेका छन्।

यसअघि सन् २००८ मा कर छलीको आरोप लागेपछि तत्कालीन अध्यक्ष ली कुन हेले राजीनामा दिएको थिए। एक वर्षपछि व्यवसायीका प्रिय मानिने तत्कालीन राष्ट्रपतिले माफी दिएपछि हे फेरि सामसङ ग्रुपको अध्यक्ष पदमा फर्किएका हुन्। सामसङ इलेक्ट्रोनिक्सका प्रमुख हुँदै सामसङ ग्रुपको उपाध्यक्ष पदमा आइपुगेका उनका छोरा योङले नै सामसङ गु्रपको नेतृत्व लिइरहेका छन्। योबाहेक सामसङ ग्रुपअन्तर्गतका धेरै संस्थामा हेकै नातेदार नेतृत्वमा छन्।

महाभियोग मुद्दाका कारण निलम्बित राष्ट्रपतिको चुनावी मुद्दा आर्थिक प्रजातान्त्रीकरण थियो। यसको अर्थ हो, क्रस होल्डिङ सेयर भएका एक दर्जनजति ठूला कम्पनीमाथि नीतिगत कडाइ र उनीहरूले गरिरहेको व्यापारमा एकाधिकारको अन्त्य। चुनावी र्‍यालीको क्रममा उनले भनेकी थिइन्, ‘ठूला कम्पनीले साना कम्पनीको आइडिया चोरेर बेच्छन्।’ विडम्बना उनैलाई ठूला कम्पनीसँग फाउन्डेसनका लागि पैसा लिएर उनीहरूको फाइदाका लागि सहयोग पुर्‍याएको आरोप लागेको छ। र, जनतालाई लागेको छ— उनी आफैं बिक्री भइन्। त्यसैले उनको विरोधमा दक्षिण कोरियामा हजारौं जनता सडकमा ओर्लिए।


दक्षिण कोरियाको राजनीतिमा सामसङको यो प्रभाव ठूला व्यापारिक संस्थाले कसरी सरकार र व्यवस्थालाई प्रभाव पार्छन् भन्ने उदाहरण पनि हो। कम्पनीका पूर्व प्रमुख अधिवक्ता किम योङ चुलले पनि यसको खुलासा गरेका छन्। सामसङसँग सरकारी अधिकारीलाई घूस खुवाउन २० करोड डलरको छुट्टै कोष भएको उनको दाबी छ। उनले पुस्तकै लेखेर सामसङभित्रको भ्रष्टाचार खुलासा गरेका थिए। तर, उनी कोरियाली सञ्चारमाध्यममा प्रतिबन्धितजस्तै छन्।

दक्षिण कोरियाली अर्थतन्त्र र समाजसँग सामसङको यो सम्बन्धले केही दशकअघिको नोकिया र फिनल्यान्डको सम्बन्धको झझल्को दिन्छ। ७ सय वर्ष स्विडेन र एक सय नौ वर्ष रुसबाट शासित फिनल्यान्ड सन् १९१७ मा स्वतन्त्र भएको थियो। फिनल्यान्ड स्वतन्त्र राष्ट्र हुनुभन्दा ५ दशक जेठो थियो नोकिया। भन्ने गरिन्छ, ७० को दशकमा ओरालो लागेको फिनल्यान्डको अर्थतन्त्र नोकियाले जीएसएम मोबाइल उत्पादन सुरु गरेपछि सुधारिएको थियो।

अनि, विश्व बजारमा नोकियाको आधिपत्यसँगै फिनल्यान्डको अर्थतन्त्र उकासिँदै गयो। सन् २००० को तथ्यांकअनुसार फिनल्यान्डको २१ प्रतिशत निर्यात नोकियाले गथ्र्यो र उसले जीडीपीको ४ प्रतिशत हिस्सा आगटेको थियो। तर, सन् २००७ मा आइफोनको आगमनले किप्याडवाला नोकियाको मोबाइल फोनको बिक्रीमा धक्का लगाइदियो र नोकियाको आरालो यात्रा सुरु भयो। थप धक्का दिन सामसङसमेत ग्यालेक्सी ब्रान्डका स्मार्टफोन लिएर बजारमा आइपुगेको थियो।


यो बेलासम्म नोकिया फिनल्यान्डको राष्ट्रिय संस्थाजस्तो बनिसकेको थियो। नोकिया र फिनिस अर्थतन्त्रबीचको कस्तोसम्म सुमधुर थियो भने कम्पनीले धेरै कामदार कटौती गर्न थालेपछि बेरोजगार समस्या सिर्जना नहोस् भनेर सरकारले सन् २००९ साना उद्यम प्रोत्साहित गर्ने योजना अघि सारेको थियो। सन् २०१३ मा भारत र नोकियाबीच करको विषयमा विवाद हुँदा फिनल्यान्डले सरकारी तवरबाटै विवाद मिलाउन लबिइङसमेत गरेको थियो।


केही एक दशकअघिसम्म फिनल्यान्डको अर्थतन्त्रको मेरुदण्ड नोकिया र अहिले दक्षिण कोरियाको अर्थतन्त्रको मुख्य खम्बा सामसङबीच समानता के भने दुवै आआफ्नो समयमा आआफ्नो देशको अर्थतन्त्रको ठूलो हिस्सा हुन्। दुई कम्पनीबीच फरकचाहिँ के भने फिनल्यान्डको अर्थतन्त्र नोकियाको विस्तारसँगै डोरिएको थियो तर सामसङको साम्राज्य कर छली, भ्रष्टाचार र छलकपटसँग जोडिएको छ। तर पनि कोरियामा कम्पनीको साख भने गिरेको छैन किनकि उनीहरूको जीवनको अभिन्न ब्रान्ड हो सामसङ र यसले अर्थतन्त्रमा ठूलो टेवा दिएको छ। यही नै कम्पनीको टिकिराख्छ भन्ने सामथ्र्य हो। तर, विश्व बजारमा यसको ब्राण्न्ड भ्यालु कति छ भन्ने कुराको निष्कर्ष निकाल्न भने उसले चाँडै सार्वजनिक गर्ने भनेको ग्यालेक्सी एस एट नै कुर्नुपर्छ।बजार र राजनीतिसँग जोडिएको यो दु:खद अवस्था झेलिरहेको सामसङले थोम्सनको भनाइ भने सम्झिनैपर्ने हुन्छ, यदि तिमीलाई आफूले किन जिते भन्ने कारण थाहा छैन भने त्यो निकै खतरनाक हुन्छ।’
–एजेन्सीको सहयोगमा

कोसेली

एउटा फरक गन्तव्य

- विद्या राई

पाहाडको टुप्पामा लमतन्न सुतेको फाँट। हिमालको काखैमा मैयुङडाँडा उसैगरी अडेको छ, गोरुको काँध जस्तै गरी मैयुङ चुचुरो माथितिर उठेको छ। खुलेको मौसम, पारिलो घाम अनि नीलो आकाश। पारिपट्टि सेताम्मै टल्कने हिमालको हसिलो मुस्कान। आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेको मैयुङडाँडामा यति बेला साँच्चिकै उमंग छाएको छ। वारिपारिका नजर विछट्टै एकोहोरिएका भेटिन्छन्। भोजपुरको उत्तर पश्चिम र खोटाङको उत्तर पूर्वी सिमाना, दुई जिल्लाबीचको संगमस्थलहो यो । यो भोजपुरको दोभाने, खार्ताम्छा, किमालुङ र तिम्मा गाविस र खोटाङको फेदी गाविसको बीचमा पर्छ। स्थानीय स्तरमा यसलाई साउनेडाँडा पनि भन्छन्। आन्तरिक पर्यटकहरू यहाँ आई टाढा–टाढाका प्राकृतिक सुन्दरताको दृश्यावलोकन गरेर ओरालो झर्छन्। यहाँबाट झरेर उनीहरू हाँसपोखरीमा पुग्छन्। चौरीगाई र भेडाबाख्रा पनि यहाँका मुख्य आकर्षण हुन्। हिउँद लागेसँगै चौरीगाई र भेडाबाख्रा बेंसी झारिएका छन्। यस बेला मैयुङ घुम्न जानेले चौंरी हेर्न बेंसी खर्कसम्म मात्रै पुगे हुन्छ। अचेल घुम्न गएकालाई ढुंगाकै मात्र गाह्रो र बाँसको चित्राले छाएका खाली गोठमा लुकामारी खेल्ने अवसर जुर्छ।

घरेलु रक्सीसँग लोकल भालेको सेकुवा खाने, नाँच्ने, गाउने, रमाइलो गर्ने यहाँका अन्य विशेषताभित्र पर्छन्। ‘जंगलको बीचमा आगो दन्काएर पालेको लोकल भाले रक्सीसँग खाँदा ढुंगेयुगको बारेमा सानामा पढेको कथाको झझल्को दिन्छ,’ भर्खरै घुमफिर सकाएर आएका मोहन दुरालले आफ्ना अनुभव सुनाए। भोजपुर सदरमुकामदेखि ५० किमि टाढा पर्छयो स्थान । पदलै हिँड्दा पूरापूर एक दिन लाग्छ। जति नै दु:खकष्ट भए पनि मैयुङको साथमा रमाउन चाहने आँट कसेरै उकालो, ओरालो, घनघोर जंगल हिँड्छन्। बोया गाविसको भीरथाप्लामा उत्तरी दिंला जाने जिल्ला सडक पर्छजुन सदरमुकामदेखिको दूरी १३ किमि टाढा छ। दिंला जाने गाडीमा आकलझुकल त्यहाँसम्म चढ्न पाइन्छ। नत्र पदलको विकल्प छैन।
मैयुङ झन्डै ३८ सय वर्गमिटरमा फैलिएको छ। पूरै क्षेत्रफलमा घुमफिर तथा अवलोकन गर्न एक हप्ताको समय निकाल्नुपर्छ। नत्र यात्रा अपूरै हुन्छ। ‘मैयुङ घुमेर कहिल्यै धित मर्दैन, यसको आकर्षण अलग्गै छ,’ आधा दर्जनभन्दा बढी अवलोकन अनुभव लिएका किमालुङका वुद्ध तामाङले बताए। गुराँस फुल्ने सिजन, वसन्त ऋतुका नयाँ पालुवा र नयाँ वर्षको आगमनसँगै जिल्लाभित्र र बाहिरका पर्यटक यहाँ आउने गर्छन्। चैत अन्तिम हप्ता र वैशाख पहिलो हप्ता यी दुई हप्तामा घुमफिर गर्ने, वनभोज खानेको बर्सेनि घुइँचो लाग्ने गरेको खोटाङ फेदी गाविसका दुर्गा राईले बताए।

एडमन्ड हिलारी पदमार्ग यही डाँडा भएर जान्छ। किमालुङका सुवास तामाङले विदेशी पर्यटकलाई यही मार्ग भएर थुप्रै पटक हिमाली क्षेत्र पुर्‍याएका छन्। उनी विगत लामो समयदेखि विदेशी पर्यटकको पथप्रदर्शकको काम गर्दै आएका छन्। सगरमाथा आरोहणका क्रममा हिलारीले दोभाने गाविस हँुदै गएकाले मैयुङलाई समेत विदेशी पर्यटकले विशेष महत्त्वका साथ लिने गरेका तामाङले बताए। अधिकांश विदेशी पर्यटकहरू यही हिलारी मार्ग हुँदै हिमाली भेग पुग्छन्। संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाककाउले, ताँबुटार, चौकीडाँडा, दोभाने हुँदै तथा सदरमुकामबाट सुन्तले, बागखोर, भीरथाप्ला, थामडाँडा हुँदै मैयुङ पुग्ने गरेका पत्रकार किरण राईले बताए। असोज महिनादेखि यताको सिजन घुमफिरका लागि उपयुक्त मानिए पनि विदेशी पर्यटक जुनसुकै समयमा आउने गर्छन्। हुस्सु, कुहिरो लाग्ने बर्खामा आइपुगेका पर्यटकले सोचेजस्तो अनुभूति लिन पाउँदैनन्।

मैयुङको ऐतिहासिक महत्त्व विश्व कीर्तिमानसंग जोडिए पनि पर्यटन व्यवसाय र जानकार पथप्रदर्शकको अभावले विदेशी पर्यटकबाट ओझेलमा परेको बोया ९ की लाक्पादिकी शेर्पाले बताइन्। विदेशी भित्र्याउन सके आन्तरिक अर्थतन्त्र मजबुत हुने भए पनि सरकारले पर्यटन क्षेत्रमा लगानी गर्न नसकेको उनको गुनासो छ।

संस्कृतिविद् कमलजंग राईका अनुसार बान्तवा भाषाको माङ र युङ दुई शव्द मिलेर मैयुङ बनेको र उक्त ठाउँलाई कालान्तरमा सोही नाम भनिएको हो। माङको अर्थ कुलपितृ र युङको अर्थ बस्ने ठाउँ बुझाउँछ। उहिले किराती राजाले आफ्ना कुलपितृ त्यही डाँडामा राखेका थिए। त्यसैताका पोखरीमा जंगली हाँस आएर खेल्ने, पौडने गरेकाले पोखरीको नाम हाँसपोखरी रहन गएको राईले बताए। सिजनमा कस्तुरी, घोरलजस्ता दुर्लभ बन्यजन्तु तथा राष्ट्रिय पक्षी डाँफेचरी प्रत्यक्ष देख्न सकिन्छ। माथिल्लो डाँडामा सत्ययुगमा रानीले तान बुन्न प्रयोग गरेको ठूला र चेप्टा चट्टानसमेत अवलोकन गर्न सकिन्छ।

Page 24
कोसेली

सिनेमाको अवसान

सन् १९९६ मा चर्चित लेखिका सुजन सोन्तेगले ‘द न्युयोर्क टाइम्स’ मा लेखेको लेख ‘द डिके अफ सिनेमा’ को नेपाली भावानुवाद :

सिनेमाको सय वर्षको इतिहास कुनै मान्छेको जीवनचक्रझैं लाग्छ।प्राकृतिक जन्म, निरन्तर उपलब्धिहरूको गौरवगाथा अनि अन्तिम दशकतिर आएर थकित वृद्ध र कमजोर शरीर अनि निरन्तर समाप्तिको बाटोतिर। यसको अर्थ यो होइन कि अब प्रशंसायोग्य सिनेमाको कुनै आस नै रहेन, सिनेमा निर्माणको भीडमा सुन्दर सिनेमाहरू बनि नै रहन्छन्। अपवादहरू निक्लिरहलान् तर अब के यस्तो सिनेमाको आस गर्न सकिन्छ, जो कलाको स्वरूप नै बनाउने गरी महान् उपलब्धि बोकेर आओस्। जो ऐलेको पुँजीवादी संसारले बनाएका नियम र संस्कारलाई ठाडै चिरेर एउटा स्वतन्त्र कलाको स्वरूपमा आओस्। यसको सम्भावना शून्यप्राय: छ। अधिकांश सामान्य फिल्महरू जो विशुद्ध मनोरञ्जनको उद्देश्यले बन्छन्, उनीहरू भयानक भद्दा छन् र निसानामा राखिएका निश्चित दर्शकहरूको मन जित्न असफल छन्। अत: सिनेमा विगतका उपलब्धिहरूलाई पुनर्जीवित गर्न पहिले नै आविष्कार गरिएका कुराहरूलाई जोडजाड र नक्कल गर्ने बाटोतिर लागेको छ। कुनै समय बीसौं शताब्दीको कलाको रूपमा हुर्किएको सिनेमा शताब्दीको अन्त्यमा एउटा क्षतिग्रस्त, घाइते स्वरूपमा देखिएको छ र निरन्तर समाप्तिको बाटोतर्फ लागेको छ।

सायद सिनेमा नै समाप्त भएको होइन बरु सिनेफिलियाचाहिँ समाप्त भएको हो। सिनेफिलिया— एउटा विशेष प्रकारको प्रेम हो, जुन सिनेमाले उत्पन्न गर्छ। प्रत्येक कलाले यसका प्रेमीहरू जन्माउँछन् नै तर सिनेमाले उजागर गरेको प्रेम संस्कृतिचाहिँ विशेष थियो। यो त्यही मान्यताको उपज थियो कि सिनेमा अरूभन्दा फरक र विशेष कला हो। पूर्ण आधुनिक, स्पस्ट रूपमा पकड हुन सक्ने, काव्यिक अनि अद्भुत, उत्तेजक अनि नैतिक। सबै एकै ठाउँमा। सिनेमासित यसका भक्तहरू थिए, यो धर्मजस्तो थियो। सिनेमा एउटा धर्मयात्रा थियो। सिनेफिलहरूका लागि सिनेमा सबथोक थियो। सिनेमा कलाको किताब थियो अनि जीवनको किताब पनि।

सन् १८९५ ताका, सिनेमा हुर्कन थाल्दा यसका दुइटा रूपहरू देखिन थाले। दुई आयामहरू एकै पटक देखिन थाले। पहिलो, वास्तविक अनि फूलबुट्टा नभरिएको जीवनको खरो प्रस्तुति, जुन लुमियेर बन्धुले नेतृत्व गरे। दोस्रो, काल्पनिक भ्रम र जादू, जुन जर्ज मेलिएसले नेतृत्व गरे। हुन त लुमिएर बन्धुले बनाएका जिन्दगीका वास्तविक दस्ताबेज पनि जादूजस्तै थिए त्यो बेलाका लागि। बन्द कोठामा अचानक नजिक–नजिक आइरहेको रेल देखेर मान्छेहरू तीनछक परे होलान्। सिनेमा जादूको रूपमा सुरु भयो। एस्तो जादू जहाँ यथार्थ कैद हुन सक्थ्यो त्यो पनि जस्ताको तस्तै। सम्पूर्ण सिनेमाको इतिहास त्यही जादूको चेतलाई निरन्तरता दिन र पुनर्निर्माण गर्न लागिपरेको प्रयास हो।

सिनेमामा भएको सबथोक त्यही बिन्दुबाट सुरु हुन्छ। सय वर्षअघि जब रेल धकेलिँदै स्टेसनको नजिक आयो, हलमा रोइरहेका र चिच्याइरहेका मानिसहरूले अचानक हात उठाएर रेल छेक्न थाले अनि टाउको तल गरेर आफूलाई बचाउन खोजे यो ठानेर कि रेल उनीहरूलाई किचेर जानेछ। रेल बोकेर आएको सिनेमाले उनीहरूलाई किचेन बरु उल्टो छातीभित्रैबाट गुडेर पो गयो। मानिसहरूले सिनेमालाई आफूभित्र ताने।

टेलिभिजनको हस्तक्षेपले छोपेर सिनेमाहलहरू खाली नहुन्जेलसम्म, सिनेमाहलको निरन्तर भ्रमणले मान्छेहरू जीवनका तरिकाहरू सिक्थे, सिक्न खोज्थे। हिँड्ने तरिका, बोल्ने तरिका, चुरोट खाने तरिका, चुम्बन गर्ने तरिका, लड्ने तरिका, शोक मनाउने तरिका, रुने तरिका अनि हाँस्ने तरिका। सिनेमाले कसरी आकर्षक बन्ने भनेर टिप्स दिन्थ्यो। पानी नपर्दा पनि रेनकोट लगाएर हिँड्ने एउटा गजबको अनुभव हो जुन हामीलाई सिनेमाले सिकायो। तर सिनेमा सकिएपछि जे हामी घर बोकेर जान्थ्यौं— एउटा विशाल अनुभूतिको एउटा सानो पाटो, जहाँ हामीले भोगाइ डुबाउँथ्यौं जुन आफ्नो थिएन। आफ्नो जीवनलाई अरू कसैको भोगाइ र अनुहारमा पोख्ने एउटा इच्छा † जुन विशाल भएर सिनेमामा आइदिन्थ्यो। सिनेमा अनुभवको संस्कृति सबैभन्दा बढी यही भोकमा निहित थियो।

पर्दाको भोगाइमा आफूलाई समर्पण गर्नु र उसलाई बगाउने जिम्मा दिनु सिनेमा अनुभूतिको मुख्य पाटो रहयो। हामी सिनेमाद्वारा अपहरित हुन चाहयौं। र, त्यो अपहरण बन्द अँध्यारो कोठामा भीमकाय चित्रहरूले गर्थे। यही अपहरण संस्कृति नै सिनेमा संस्कृतिको चुरो थियो।
टेलिभिजनमा कुनै सिनेमा हेर्नु, सिनेमा हेर्नु नै होइन। दृश्यको ‘डाइमेन्सन’ मात्र होइन, सिनेमा थिएटरमा देखिने आफूभन्दा ठूला मानब आकृतिहरू र घरको बाकसमा देखिने आफूभन्दा साना आकृतिहरूबीचको तात्त्विक फरक छ। घरको कुनोमा एउटा बाकसतिर केन्द्रित गर्नु वास्तवमै सिनेमा संस्कृतिको अनादर हो। हुन त घरघरमा, बैठक कोठा र सुत्ने कोठाका भित्ता आकारमा पनि अनुभव हुन थालेको छ सिनेमा। तर पनि घरको भिता घरकै भित्ता हो, यदि अपहरित नै हुनु छ भने सिनेमा थिएटरमै पुग्नुपर्छ। जहाँ हुन्छ— एउटा विशाल अँध्यारो कोठा अनि अपरिचितहरूको विशाल तर शान्त हूल।

अब आएर जत्रो ठूलो शोकसभा गरे पनि, अँध्यारो थिएटरको उत्तेजक र गम्भीर संस्कृतिको क्षतिपूर्ति पुग्ने छैन। बढी ध्यान खिच्ने उद्देश्यले सिनेमाको स्वरूप छियाछिया हुन पुगेको छ। रंगरोगन थोपरिएको चित्र र सिद्धान्तहीन काटछाँट (फास्ट कटिङ) हाबी भएका छन्। स्वरूप गुमाएको हल्का सिनेमा निर्माण परम्परा सुरु भएको छ, जुन सिनेमाले गम्भीर ध्यानको अपेक्षै गर्दैन। चल्ने चित्रहरू आजभोलि अनेक आकारहरूमा अनेक सतहहरूमा छयापछयाप्ती भेटिन्छन् जसले गर्दा एकताका मानिसहरूले बनाएको सिनेमा कलाको रूप र लोकप्रिय मनोरञ्जनको रूप भन्ने मानक पनि भत्कन पुगेको छ।

सुरुआती दिनहरूमा सिनेमा कला कि मनोरञ्जन भन्ने विभेद नै थिएन। मुक सिनेमाको जुगमा बनेका मास्टरपिसहरू कलात्मक स्वरूपमा पनि उच्च कोटिका थिए। चित्रले आवाजसँग बिहे गरेसँगै दृश्य भाषाको ओज र लय घट्दै गयो, बजारले च्याप्दै लग्यो। ‘हलिउड सिस्टम’ नाम गरेको यो तरिकाले २५ वर्ष भएंकर प्रभाव छोडयो। अर्सन वेल्स र एरिक भोन इस्त्रोहेमजस्ता मौलिक सर्जकहरू यो सिस्टमको अगाडि हारे र अन्तत: कलात्मक निर्वासनका लागि युरोपतिर हानिए, जहाँ अहिले यही सिस्टमको जगजगी सुरु भएको छ। सानो बजेटसहित फ्रान्समा मात्र उत्कृष्ट सिनेमाहरू बने तिनताका। केही समयपछि, एकफेर सिनेमा बचाउने विचारहरू सुरु भए। जुन विचारले इटालीको युद्धइतर सिनेमामा जरा गाड्न थाल्यो। मौलिक र गहिरा सिनेमाहरू थुप्रो बने त्यो बेला।


अझ केही समयपछि, सय वर्षको इतिहासमा सिनेमा विशेष घडीमा पुगेको थियो। जुन बेला, सिनेमा हेर्नु, यसबारे कुरा गर्नु, विश्वविद्यालयका विद्यार्थी र अरू युवाका लागि विशेष चाखको विषय बनेको थियो। सिनेमाको कलाकारसँग मात्र हैन, सिनेमासँग नै मायामा फस्ने एउटा विशेष बेला आएको थियो। सिनेफिलिया पहिलो पटक स्पस्ट रूपमा देखियो सन् १९५० तिर, फ्रान्समा। यसको फोरम थियो चर्चित सिनेमा पत्रिका ‘कहेर्स डु सिनेमा’ र यही परम्परा फैलियो क्रमश: जर्मनी, इटाली, बेलायत, स्विडेन, क्यानाडा अनि अमेरिकामा। यसका मन्दिरहरू थिए— सिनेमा क्लब र सिनेमाथेगहरू जहाँ विगतका सिनेमा र सर्जकहरूबारे गम्भीर उत्खनन हुन थाले।


सन् ६० र ७० का अघिल्ला वर्षहरूमा सिनेमा थिएटर जाने संस्कृति प्रचुर थियो। पूर्णकालीन सिनेफिलहरू, ठूलो पर्दाको सकेसम्म नजिक सिट पाउने सपना देख्थे। सन् १९६४ मा बनेको एक सिनेमाको पात्र घोषणा गर्छ— रोजेलिनी (इटालियन सर्जक) बिना कोही बाँच्नै सक्दैन। साँच्चै समय त्यस्तै नै थियो।

सन् ५० पछिका १५ वर्ष सिनेमाको स्वर्णिम जुग थियो, जुन बेला हरेक महिना नयाँ मास्टरपिसहरू बन्थे। अहिले कति टाढा लाग्छ त्यो जुग। त्यो बेला सिनेमा उद्योगको रूप वा कलाको रूप भन्ने चर्को बहस हुन्थ्यो। सिनेमा एक नियमित प्रक्रिया वा प्रयोग भन्ने विषयमा गहिरो द्वन्द्व थियो। तर यो द्वन्द्वसँग त्यस्तो कुनै तागत थिएन जसले त्यो बेलाका उत्कृष्ट सिनेमाहरू बन्न रोकोस्। सिनेफिलिया संस्कृतिका गहिरा सिनेमाहरू बनि नै रहे। कहिले मूलधारभित्रैबाट कहिले बाहिरबाट। अहिले आएर यो सिनेमा नाप्ने तराजु ढल्किएको छ र सिनेमा उद्योगको रूप भन्ने पक्षको पल्ला भारी भएको छ। सन् ६० र ७० तिरका महान् सिनेमाहरू एक–एक गरी बिर्सिइँदै छन् क्रमश:।


उद्योगइतर सिनेमाको बढ्दो प्रभावसँग डराएर, ७० को दशकतिरै हलिउड नयाँ युरोपियन सिनेमा र सीमान्तकृत अमेरिकन इन्डी सिनेमाहरूको कथ्यशैली र सम्पादन शैलीको चोरी सिकारीतिर लागिसकेको थियो। ८० मा आएर उनीहरूले महामारी ल्याउने गरी बजेट बढाए जसले विश्वव्यापी रूपमा बजार विकास गर्न र बजार सुरक्षित गर्न सहयोग पुर्‍यायो।


अत्यधिक बजेटका कारण फिल्मले छिटोभन्दा छिटो पैसा जम्मा गर्नुपर्ने भयो। नाफा कमाउनु छ भने प्रदर्शनको पहिलो महिनामै लगानी उठाउनुपर्ने बाध्यता आइलाग्यो। अनि यही अभियानसँगै ब्लकबस्टर सिनेमाहरूको जगजगी सुरु भयो र कम बजेटमा बनेका सिनेमाहरू छायामा पर्न थाले। सिनेमाको हलमा बाँच्ने आयु घट्दै–घट्दै किताब पसलको सेल्फमा किताब बच्ने आयु जति हुन लाग्यो। धेरै फिल्महरू सीधै भिडियोमा जाने गरी डिजाइन हुन थाले। अनि बिस्तारै सिनेमा थिएटरहरू निरन्तर रूपमा बन्द हुन पुगे। धेरै सहरहरूमा एउटा सिंगो थिएटर भेट्न गारो हुन थाल्यो र सिनेमा घरायसी मनोरञ्जनको रूपमा बदलियो।

अमेरिकामा गुणात्मक स्वरूपको अपेक्षा घट्दै जाँदा र नाफामुखी अपेक्षा बढ्दै जाँदा फ्रान्सिस फोर्ड कोपला र पौल स्क्रादरजस्ता कलात्मक रूपमा गम्भीर सर्जकहरूले आफ्नो उत्कृस्ट काम गर्न कहिल्यै पाएनन्। आफ्नो करिअरको अन्तिम दशकतिर दु:खी भाग्य बोकेर बिदा भएका महान् सर्जकहरूको नियतिले यसको दुर्दशा देखाउँछ। कहाँ ठाउा छ अब? हाँस जुर्गेन साइबरबर्गजस्ता सर्जकहरूका लागि जसले सम्पूर्ण रूपमा फिल्म बनाउने कामबाट सन्न्यास लिइदिए। अथवा गोदार्दको दुर्दशा हेरौं जो सिनेमाको इतिहासबारे सिनेमा बनाइरहेका छन् जुन उनले भिडियोमा बनाइरहेका छन्। आफ्नो चामत्कारिक तर छोटो करियरको अन्तिम दुई सिनेमाको बजेट र कास्टलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो संकट खेपे, आन्द्रे तार्कोब्सकीले र रुसी पुँजीवादको नीरस छायामा आफ्ना सब्लाइम सिनेमाहरू बनाउन कहाँबाट पैसा पाइराख्लान् अलेक्जेन्दर सकुरोवले?
आदि–इत्यादि।

वास्तवमै, सिनेमाको प्रेम धमिलो भएको छ। मान्छेहरू अझै पनि हल जान मन पराउँछन् र कोही अझै ध्यान दिन्छन् र केही विशेष अपेक्षा गर्छन् जुन सिनेमाबाट आउन आवश्यक छ र तिलस्मी सिनेमाहरू अहिले पनि बनिरहेका छन्।तर अहिलेका युवाहरूमा सिनेफिलिक प्रेमचाहिँ हराएर गएको छ। जुन एउटा विशेष स्वादको प्रेम मात्र होइन बरु सिनेमाको विगतको गाथालाई निरन्तर हेर्ने र अध्ययन गर्ने गहिरो भोक र प्रेम हो, जुन गजबले हराएर गएको छ। सिनेफिलिया आफैं आक्रमणको सिकार भएको छ। मिति नाघेको, पुरानो, भद्दा र तल्लो दर्जाको जस्ता हतियारहरूले हानेर सिनेफिलियालाई सिध्याएको छ।सिनेफिलिया यो संकेत गर्छ, कि सिनेमा अनुपम हुनुपर्छ। जुन ताजा र जादूमय अनुभूति हुनुपर्छ। सिनेफिलिया भन्छ हलिउडले रिमेक गरेको गोदर्दको ब्रेथ्लेस भन्ने सिनेमा, ओरिजिनलजस्तो राम्रो कुनै हालतमा हुन सक्दैन।

यो महान् औद्योगीकरणको जुगमा सिनेफिलियाको कुनै अस्तित्व नै छैन। सिनेमालाई एक काव्यिक जिनिसको रूपमा स्थापित गराउने अभियानलाई हाँक्न सिनेफिलिया कमजोर भइसक्यो। अब सिनेफिलियासँग यत्रो बल छैन ताकि उसले सिनेमा उद्योगको बाहिर बसेर चित्रकार र लेखकले जसरी सिनेमा बनाउने इच्छालाई उजागर गर्न सकोस्। एउटा दृढ विश्वास र आस्था हारिसकेको छ।सिनेफिलिया मरेको छ भने सिनेमाहरू पनि मृत छन्। चाहे जतिसुकै सिनेमाहरू बनुन्। असाध्यै राम्रा सिनेमाहरू बन्दा र बनिरहँदा पनि सिनेफिलियाको अभावमा यो ‘नोसन’ मृतप्राय: छ। साँच्चै सिनेमालाई बिउँताउने हो भने अब एउटा नयाँ खालको सिनेफिलिया विश्वव्यापी रूपमा जन्मनु अत्यावश्यक छ।
अनुवाद : मनोजबाबु पन्त

Page 25
कोसेली

संसारलाई सरसर्ती चियाउने झ्याल

पर्यटकहरूमा आफ्नो अनुभूति लिपिबद्व गर्ने न जाँगर हुन्छ, न कला नै। ‘सरसर्ती संसार’ मार्फत जीवा लामिछानेले आफूलाई ती थोरैमा पारेका छन् जो आफ्ना यात्रा अनुभव र अनुभूतिलाई पुस्तकाकार रूप दिएर लोभलाग्दो आवरणमा पाठकमाझ आएका छन्।
- अखिलेश उपाध्याय

भनिन्छ— यात्रा गर्दा आफ्नै छाया देखिन्छ। त्यो छायाले आफूलाई सदा पछयाइरहन्छ। यात्रा साहित्यको विशेषता पनि त्यही नै हो। हामी आफ्नो संसारलाई, आफ्ना वरिपरिका घटनाक्रमलाई, भेट भएका पात्रहरूलाई अत्यन्त व्यक्तिगत तवरले हेर्छौं, देख्छौं। एकातिर छोटो समयमा धेरै कुरा हेर्नुपर्ने र गर्नुपर्ने चापले घच्घच्याइरहेको हुन्छ भने अर्कातिर बिरानो ठाउँको नवीनताले साधारण घटनाक्रम र दृश्यलाई असाधारण मौलिकताबाट अवलोकन गर्ने अवसर दिइरहेको हुन्छ। यति नभए, पर्यटन आज सबैभन्दा द्रुततम गतिमा विस्तार भएका उद्योगमध्ये कसरी पथ्र्याे र !

तर सबै पर्यटकहरूमा आफ्नो अनुभूति लिपिबद्व गर्ने न जाँगर हुन्छ, न कला नै। ‘सरसर्ती संसार’ मार्फत जीवा लामिछानेले आफूलाई ती थोरैमा पारेका छन् जो आफ्ना यात्रा अनुभव र अनुभूतिलाई पुस्तकाकार रूप दिएर लोभलाग्दो आवरणमा पाठकमाझ आएका छन्।‘सरसर्ती संसार’ को २ सय २० पेजभित्र मैले लेखक जीवा लामिछानेलाई छर्लंग हेर्ने मौका पाएँ, उनमा बहुप्रतिभाशाली व्यक्तित्वको छनक भेट्टाएँ। २९ अध्यायमा टुंगिएको यस नियात्रामा मैले जीवालाई एक युवा–विद्यार्थी, एक नव–उद्यमी, अनि पछिल्लो समयमा सफल गैरआवासीय नेपाली अभियन्ताको रूपमा देखें।

सन् १९८३ मा इन्जिनियरिङ अध्ययन गर्न तत्कालीन भीमकाय सोभियत संघ पुग्दादेखि सन् २०१० को दशकसम्मका विभिन्न छोटा–लामा यात्राका अनुभव र अनुभूतिको संगालो हो— ‘सरसर्ती संसार’। पुस्तकमा युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया र एसियाली मुलुकहरूमा गरिएका यात्राका विषमतालाई लेखनको दह्रिलो कडीले जोडिएको छ।
लेखकको नेपालप्रतिको प्रगाढ प्रेम पनि पुस्तकमा प्रस्टै झल्किन्छ। विकसित सहरहरूको सुव्यवस्थापन र भौतिक पूर्वाधारको अद्वितीय प्रारूपको तारिफ गर्दागर्दै उनी करिब–करिब हरेक भ्रमणको क्रममा आफ्नो देशको दुर्गतिप्रति भावुक हुन्छन्। ‘यसो गर्नुको अर्थ मैले हाम्रा क्षमताहरू तुलना गरेर कमजोर देखाउन खोजेको नभई,’ उनी लेख्छन्— ‘एक दिन हाम्रो देश पनि विकसित होस् भन्ने सपना हो।’ उनले भनेझैं पहिलो पुस्ताका गैरआवासीय समुदायका सदस्य भएर होला, ३५ वर्षको लामो विदेश बसाइपछि पनि उनको मन नेपालसँग दर्‍हो गरी जोडिएकै छ।

‘सरसर्ती संसार’ का भिन्न–भिन्न सन्दर्भहरू पढिरहँदा थाहा हुन्छ— ठाकुरप्रसाद गुरागाई, टंकध्वज नेपाल, नन्दराम न्यौपाने, घनश्यामराम भण्डारी, डा।कृष्ण कायस्थ, हरि मल्ल, राजु श्रेष्ठ, जयन्त नेपाल, टिटोम थापा, तेन्जी शेर्पा, पशुपति भण्डारी, रमेश अर्यालजस्ता विभिन्न देशमा बसेका नेपालीहरूले आ–आफ्नै पहिचान बनाएका छन्। तर आफ्नो नेपालीपनमा उनीहरू उत्तिकै गर्व गर्छन्।

गैरआवासीय नेपाली संघको पैंसट्ठीऔं राष्ट्रिय समन्वय परिषद् स्थापनाका लागि चेक गणराज्यको राजधानी प्रागको एक रेस्टुरेन्टमा राति ३ बजेसम्म बियरमा गफिँदै हाम्रो नयाँ वर्ष २०७० को स्वागत गरेको रमाइलो प्रसंग जीवा उल्लेख गर्छन्, ‘बियर पारखीको देश’ शीर्षकमा। प्राग र इस्टोनियाको राजधानी ता:लिनको अत्यन्त छोटो बसाइ– अनुभवलाई पनि उनले पाठकले अनुभूत गर्ने गरी उतारेका छन्। खासमा योजना राम्ररी गरिएको भ्रमण रमाइलो मात्र हुँदैन, निकै उपलब्धिमूलक पनि हुने गर्छ।

रमाइलो कुरा, सारा संसार घुमेका जीवा अमेरिका भने सन् २००४ मा मात्रै पुगेछन्। अमेरिकी बानी व्यहोराले उनलाई प्रभावित तुल्याएछ। खासगरी अमेरिकीहरूको नचिनेका मानिससँग पनि चिनेसरी बोल्ने चलन र शिष्टताबाट निकै मोहित भएका रहेछन् उनी। एक घटनाले अमेरिका भ्रमणलाई अझ अविस्मरणीय बनाएछ। एक पटक साँझ ५ बजे क्यालिफोर्निया (सहरको नाम उनी उल्लेख गर्दैनन्) बाट हयुस्टन उड्नुपर्ने जहाज राति ११ बजे मात्रै उडेछ। भ्रमणमा साथै रहेका घनश्यामले रिसको झोंकमा लिखित उजुरी ठोकिदिए। जीवाले पनि देखासिखी गरे, हल्का हिसाबले, ‘हामी आज समयमा जानु एकदम जरुरी थियो, जहाज डिले हुनाले हामीलाई ठूलो असुविधा भयो’ भन्ने भावमा। केही महिनापछि उक्त अमेरिकी एयरलाइन्सले उनीहरूलाई क्षमायाचना मात्रै मागेन, मस्कोको ठेगानामा पत्रै पठायो जसमा डेढ सय अमेरिकी डलर पनि रहेछ— क्षतिपूर्तिबापत।


यसैसँग तुलनायोग्य अर्को प्रसङ्ग, सपरिवार गोवा भ्रमण गर्दा पनि आइपरेको रहेछ। उनी उल्लेख गर्छन्— होटल होलिडे इनमा राति चेक–इन गर्दा आफ्नो कोठा इलेक्ट्रोनिक कार्डले नखुलेपछि बाल्कोनी हुँदै झ्यालबाट पसेर होटलका स्टाफले एक घन्टापछि बल्ल–बल्ल खोलेछन्। जीवाले अमेरिकामा झैं यहाँ पनि लिखित रूपमै गुनासो गरेछन्। पछि सोही होटलमा क्यामेरासमेत हराएछ। तर, न गुनासोको कुनै जवाफ आयो, न कसैले ‘सरी’ भन्यो।

यात्रामा कहिलेकाहीं आफ्नो लापरबाहीले, कहिले अरूको कारणले सरसामान हराउँछ। तर विभिन्न देशमा हराएका सामान आफूकहाँ फर्किन्छ कि फर्किंदैन भन्ने सबैको आआफ्नै अनुभव छ। अधिकांश यात्रुको अनुभवमा जापान त्यस्तो देश हो, जहाँ हराएका सामान हकदारकहाँ फर्किन्छ। जहाँ हरेक जापानी नागरिक आफ्नो देशको इज्जत नबिग्रोस् भनेर अति नै होसियारी अपनाउने गर्छन्। जीवाजीको अनुभव पनि त्यस्तै रहयो। हराएको झोला फर्किएर आयो। अर्को एउटा सन्दर्भमा बाटो हराइरहेको यात्री जीवाजीलाई रेलवे स्टेसनमा एक जापानीले ४० मिनेट लगाएर सही गन्तव्यमा पुर्‍याइदिएका थिए।


मेरो व्यक्तिगत अनुभव पनि जापानमा त्यस्तै रहयो। २०१५ को महाभूकम्प आउनु केही अगाडिसम्म कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष र म टोक्योमा थियौं। हामी टोक्योबाट बैंकक हुँदै थाई विमानबाट काठमाडौं अवतरण गर्ने क्रममा उक्त भूकम्पको पहिलो र सबैभन्दा ठूलो झट्का आएको थियो। हाम्रो विमानचालकले करिब ४० मिनेट आकाशमा जहाज उडाएर काठमाडौं विमानस्थलको स्थिति आकलन गर्न नसकेपछि अन्तत: जहाज पुन: बैंकक फिर्ता लगे। बैंकक एयरपोर्टमा इन्टरनेटको कनेक्सन पाउनासाथ हामी दुवै आ–आफ्नो फोनमा इमेल हेर्न थाल्यौं। जहाँ हाम्रै हालखबरबारे जानकारी लिन अत्यन्त आतुर हुनेमा तिनै जापानीहरू थिए, एक दिनअगाडि मात्र चिनजान भएका त्यहाँका पत्रकार र रेस्टुरेन्टमा प्लेन चढ्नुअगाडि साधारण चिनजान भएकाहरू (हामीले आफ्नो बिजनेस कार्ड दिएका थियौं)। पछिसम्म तीमध्ये एक जनाले मलाई इमेलमा हाम्रो अवस्था सोध्दै कस्तो खाले सहयोग गर्न सकिन्छ भन्ने जिज्ञासा राखिरहे। जीवा लेख्छन्, ‘मैले थाहा पाएका जापानीहरूका विशेषता थुप्रै रहेछन्। गोरा, होचा, चिम्सा आँखा भएका, विनम्र, विनम्रशील र शालीन व्यक्तित्वका धनी, असाध्यै सहयोगी, झुकेर मात्र कुरा गर्ने तर व्यवहारमा चाम्रा, आफ्नो कुरा हतपत नखोल्ने, बाहिरबाट हेर्दा सोझाजस्ता तर मनका उत्पात बाठा।’

पुस्तकमा कतिपय ठाउँमा कुनै सहर र सभ्यताको तुलनात्मक हिसाबले सरसर्ती वर्णन गरेपछि लेखकले संक्षिप्त रूपमा सूक्ष्म दृष्टिले माथिका जस्ता मानवीय क्षमता पनि उजागर गरेका छन्। लेखकको विशेष दख्खलचाहिँ उनले लामो समय विताएका युरोप, त्यसमा पनि खास गरेर पूर्वी युरोप र तत्कालीन सोभियत संघको नियात्रामा देखिन्छ— ‘अस्थिरताको बादलमा युक्रेन’ मा। रुस र युक्रेनका जनताबीचको अत्यन्त अप्ठयारो सम्बन्ध, युक्रेनी प्रशासनमा हुने गरेको पदको दुरुपयोग र नेपाली कर्मचारीतन्त्रमा जस्तै देखिने नांगो भ्रष्टाचारलाई उनले उजागर गरेका छन्। युक्रेन यात्राको क्रममा उनले भोगेका अप्ठयारा सायद नेपाली पासपोर्टमा यात्रा गर्ने हामी सबैले कुनै न कुनै समयमा भोगेकै हौं, खास गरेर अध्यागमनको समयमा।

‘देश टुक्रिँदाको दुर्दशा’ सोभियत संघको पन्ध्रवटा गणराज्यमध्ये सबैभन्दा पिछडिएको ताजकिस्तानबारेमा हो। १९८० को दशकमा सोभियत संघ पेरेस्त्रोइका र ग्लास्तनोस्तको असरमा वा अवसरमा आइसकेको थियो। र, संघको विखण्डनको दरार पनि सुरु भइसकेको थियो। रुसी जातिको प्रभाव विभिन्न गणराज्यमा घट्दो थियो भने उनीहरू रुस फर्कने क्रम बढ्दो। सोभियत संघका पूर्वी गणराज्यमा पनि विखण्डनपछि जातीय दंगा र गृहयुद्ध भएका हुन्। जीवा लख्छन्, ‘तर सबैभन्दा बढी चपेटामा परेको गणराज्य भने ताजिकिस्तान नै हो।’ युरोपको सेरोफेरो पढ्ने क्रममा नै एउटा कुरा पनि थाहा भयो— जीबाको प्रथम पुँजी संकलनको रहस्य। उनी खुला अर्थतन्त्र अँगालेको तत्कालीन पश्चिम जर्मनीबाट सामान ल्याएर विदेशी सामग्रीका भोका रुसीहरूलाई बेच्थे। आफ्नो वर्तमान सफलता र विश्व दर्शनको ठूलो श्रेय खुलेर रुस र सोभियत संघलाई दिएका छन् उनले।

जीवाले ३५ वर्षयता अनुशासित रूपले जेहनदार विद्यार्थीले जस्तै डायरी राखेका छन्। यिनको भाषामा राम्रो पकड छ। नयाँ कुरा सिक्ने, बुझ्ने जिज्ञासु स्वभाव पनि उत्तिकै देखिन्छ यिनमा। एउटा सफल नियात्रा लेखकका लागि यो आफैंमा ठूलो गुण हो। यिनै आधारमा विश्वास गर्न सकिन्छ, आउने दिनमा जीवाजीले रुसका प्रसंग सँगालेर अझ परिस्कृत नियात्रा निकाल्नेछन्।

कोसेली

चन्द्रनिघण्टु: आयुर्वेदको उपहार

नेपाल प्राकृतिक सम्पदा र जडीबुटीको खानी हो भनेर विद्यालय तहका पाठयपुस्तकदेखि पढाइने गरिन्छ। विश्वविद्यालय तहमा पनि आयुर्वेद क्याम्पस र उपचारमा आयुर्वेद अस्पतालहरू यहाँ नभएका होइनन्। तर, तिनमा पढाइने पाठयक्रमदेखि उपचारमा प्रयोग गरिने पद्धति भने बाहिरी बजार र बाहिरी भूगोलसँग बढी गाँसिएका छन्। सबैले जाने–सुनेको डाबर कम्पनी वा पतन्जली ब्रान्डका बारे चियोचर्चा सबैतिर हुने गरेकोमा आयुर्वेदको आफ्नै इतिहास र चिनारी सही अर्थमा अहिलेसम्म ‘लुप्तप्राय’ थियो जुन बाहिर आउने क्रममा छ।

आजभन्दा १ सय वर्षअघि राणाकालीन युगमा नेपालमा रहेका १ हजारभन्दा बढी जडीबुटी (खनिज/द्रव्यसहित) को हस्तलिखित कृति तयार भएको थियो। र, त्यसमा जडीबुटीका रंगीन चित्र, तिनका विशेषता, कर्म र उपयोगिता वर्णन गरिएको थियो। राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा तयार पारिएको हुनाले उनकै नाम जोडेर राखिएको दस्तावेज ‘चन्द्रनिघण्टु:’ अहिले सिंहदरबार वैद्यखानाबाट शृंखलाका रूपमा प्रकाशित हुने क्रममा छ। १९१८ पृष्ठको हस्तलिखित ग्रन्थ जम्मा १० भागमा छापिने र अहिलेसम्म ३ भाग प्रकाशनमा आइसकेको छ। आयुर्वेद्ध विज्ञानमा अति प्रामाणिक र सिंगो आयुर्वेद्ध बजारको प्रतिनिधित्व गर्ने भनेर दाबी गर्दै आएका एकल निकाय/विज्ञका लागि ‘चन्द्रनिघण्टु:’ एउटा गतिलो जवाफ बनेको छ।

‘चन्द्रनिघण्टु:’ मा हरेक जडीबुटी, खनिज वा द्रव्यको संस्कृत, नेपाली, नेवारी, हिन्दी, अंग्रेजी, ल्याटिन नामसहितको व्याख्यान खुलाइएको छ। जस्तो, कमल फूलको चिनारी खुलाउने क्रममा नेपालको तराइदेखि ५ हजार फिट उचाइसम्म प्राय: जलाशय वा जलीय भूमिमा पाउन सकिने भनेर खुलाइएको छ। यसको फूल, डाँठ वा बीउलाई चर्मरोग, रक्तविकार, मूच्र्छा, अनिद्रा, रक्तपित्त आदि सहितमा उपयोग गर्न सकिने स्पष्ट जनाउ दिइएको छ। पुस्तकको सम्पादकीयमा उल्लेख भएअनुसार, वर्षौंवर्षदेखि दराजमा थन्किएर बसेको ‘चन्द्रनिघण्टु:’ प्रकाशनको विषय २०५३ सालदेखि उठे तापनि २०६९ सालमा प्रथम भाग प्रकाशित भएको थियो। सिंहदरबार वैद्यखानाका अनुसार यही महिना ‘चन्द्रनिघण्टु:’ को चौथो भाग प्रकाशनमा आउँदै छ।

एक शताब्दीअघिको स्रोत–साधन र पहुँचले खुम्चिएको युगमा समेत देश–विदेशका आयुर्वेद विज्ञ र चिकित्सकसमेत भेला गराएर मौलिक जडीबुटीको अभिलेखीकरण गराउनुको अभिप्राय त्यस बेलाभन्दा अहिले बढी स्पष्ट भएको छ। यो विशिष्ट अभियान अघि बढाउन र पाण्डुलिपि (कृति) तयार गर्ने क्रममा धन्वन्तरि निघण्टु, भावप्रकाश निघण्टु, राज निघण्टु, कैयदेव निघण्टु तथा अमरकोषलाई आधार मानिएको प्रामाणिक तथ्यले पनि ‘चन्द्रनिघण्टु:’ को बढी प्रामाणिकता स्पष्ट भएको छ। यस्तो अति महत्त्वको र प्रामाणिक कृति सर्वसाधारणको पनि पहुँचमा पुगोस् भनेर वैद्यखाना विकास समितिको ध्यान आकृष्ट हुनु जरुरी छ। कृतिको प्रतिखण्डको २५ सय रुपैयाँ मूल्य तिरेर यो कृतिको उपयोग गर्न कतिले सक्लान्, यो सोच्नु जरुरी छ।

चन्द्रनिघण्टु:
प्रकाशक : सिंहदरबार
वैद्यखाना विकास समिति
मूल्य : २५ सय रूपैयाँ
(प्रतिखण्ड)

कोसेली

शिक्षाको जीवन–साइनो

गरेरै जानौँ
लेखक : माधवप्रसाद अधिकारी
पृष्ठ : ७२
मूल्य: रू. २००/–

परम्परागत परिभाषाअनुसार कुनै पनि विषय जान्नु र सिक्नु नै शिक्षा हो। औपचारिक शिक्षाका लागि सरकारी र निजी तहमा खुलेका हजारांै विद्यालय र दसवटा विश्वविद्यालय सञ्चालनमा छन्। ती सबैमा त्यस्तो धेरै चीज सिकाइन्छ, जसको उपयोग हामीमध्ये धेरैको जीवनमा कहिल्यै पनि हुँदैन। अनि ती शिक्षालयमा त्यस्तो चेतना र सीप सिकाइँदैन, जुन हामी सबैको जीवनमा नभई हुँदैन। आखिर मानिसको जीवनसँग नजोडिएको शिक्षाको के काम? के हाम्रो शिक्षा वैज्ञानिक चेतना निर्माण, उच्च नैतिकताको द्योतक, सीपमूलक र जीवनोपयोगी बनाउन सकिंदैन? विद्यालय शिक्षणमा ३६ वर्ष बिताएका माधवप्रसाद अधिकारीलाई यी र यस्तै प्रश्नले घोचिरहन्छ। उनी आफ्नो उर्वर जीवनका अधिकांश समय खर्चिएको शिक्षण पेसमा थुप्रै कमी देख्छन्। तीमध्येको एक मुख्य समस्या पठनपाठनका विधि र अन्तरवस्तु विज्ञान र जीवनसँग जोड्न नसक्नु हो भन्ने उनको निचोड छ। यस्तो समस्या समाधानमा सघाउने उद्देश्यले उनले ‘गरेरै जानौं’ पुस्तक सार्वजनिक गरेका छन्।


धेरै विद्यार्थीले गणित र विज्ञानका क्लिष्ट सूत्र घोक्छन्, परीक्षामा अंक प्राप्त गर्छन्। तर हाम्रो जीवनमा तिनले पार्ने प्रभाव, सूत्रका आधार र उपयोगिताजस्ता नीरस विषयमा पढ्ने र पढाउने दुवैले खासै खोजी गर्दैनन्। यही समस्यालाई अधिकारी ‘एउटा टेस्ट टयुबबाट अर्कोमा खन्याएको मर्करी’ सँग तुलना गर्छन्। ‘एउटा टेस्ट टयुबबाट अर्कोमा मर्करी खन्याउँदा खाली भएको टयुबमा मर्करीको कुनै संकेत बाँकी रहँदैन,’ उनी भन्छन्, ‘हाम्रो पठन–पाठन ठीक यस्तै भएको छ। सिकाउने शिक्षककै चेतना र सीपलाई शिक्षाले असर गरेको छैन, मर्करीले टेस्ट टयुबलाई नभिजाएको जस्तै।’ पनौतीको इन्द्रेश्वर माविबाट २०३२ सालमा शिक्षण पेसा सुरु गरेदेखि नै उनले शिक्षालाई मानिसको चेतना र सीपसँग जोडेर व्यक्तित्व विकास र समाज परिवर्तनमा आग्रसर गराउने प्रयास निरन्तर जारी राखेका छन्। त्यसैको पछिल्लो उपजका रूपमा उनले तयार गरेको रचनात्मक विज्ञानसँग सम्बन्धित ‘गरेरै जानौं’ पुस्तक विद्यालय शिक्षक र शिक्षार्थीका लागि मात्र लक्षित नभई विज्ञानप्रति रुचि राख्ने सबैका लागि उपयोगी देखिन्छ।

काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको शब्दमा अधिकारीले यस पुस्तकलाई ‘कलिलो मस्तिष्कदेखि पाको तर जिज्ञासु मस्तिष्कका लागि प्रत्येक दिन नियाल्ने सूत्रकै रूपमा’ प्रस्तुत गरेका छन्। ‘पुस्तकमा प्रस्तुत साठीवटै प्रयोगहरूले रहस्यजस्ता देखिने कुराहरू त व्यवहारमै उतार्न सकिँदारहेछन्, त्यो झनै रोचक छ,’ शर्माले पुस्तकको भूमिकामा लेखेका छन्। शर्माले भनेजस्तो अधिकारीले विज्ञानलाई रहस्यका रूपमा नभई जीवनमा प्रयोग भइरहेको सरल नियमका रूपमा बुझ्न सकिने बिदाका रूपमा प्रस्तुत गरेको देखिन्छ।
नेपाली र अंग्रेजी दुवै माध्यममा प्रकाशित ७२ पृष्ठको सचित्र पुस्तकलाई विज्ञानको सानो प्रयोगशालाकै रूपमा अध्ययन गर्न सकिन्छ। रंगीन चित्र सामग्री तर संक्षिप्त व्याख्या गरिएका विज्ञानका सिद्धान्तलाई प्रयोगात्मक बनाउने क्रममा उनले सम्पूर्ण रूपमा स्थानीय स्रोत–सामग्रीको प्रयोग गरेका छन्। विज्ञान शिक्षणलाई साहित्य र समाजशास्त्रभन्दा फरक तरिकाले अध्यापन गर्नुपर्छ भन्ने अनुभवलाई उनले पुस्तकमा स्थापित गर्न खोजेका छन्। तसर्थ पुस्तकले अध्येतालाई विज्ञानका नयाँ सूत्र दिंदैन, बरु व्यक्तिमा वैज्ञानिक धारणाको विकास गर्न मद्दत गर्नेछ। उनैले भूमिका उल्लेख गरेजस्तो विज्ञानले मानिसलाई यन्त्र मानव होइन, विवेकी र सिर्जनशील बनाउन मद्दत गर्नुपर्छ। यसका लागि उनले तयार गरेका ५ दर्जन प्रयोगात्मक उदाहरणले विज्ञानलाई प्रमाणित ज्ञानका रूपमा बुझ्न मद्दत गर्न सक्छ, जहाँ उनले कम्पास बनाउने तरिकादेखि ग्रहण कसरी लाग्छसम्मका विषय समेटेका छन्। हाम्रै घर वरपर पाइने सामग्रीबाट पिनहोल क्यामेरादेखि केवलकारसम्मका अत्याधुनिक यन्त्र कसरी सञ्चालन गरेर देखाउन सकिन्छ भन्नेजस्ता थुप्रै प्रयोग पुस्तकमा छन्।

अधिकारीले विज्ञान शिक्षका रूपमा आफूले तयार पारेका शिक्षण सामग्रीलाई अवकाशपछिको समयमा पनि अझ परिस्कृत गरी विभिन्न सामुदायिक विद्यालयमा पुर्‍याउने स्वयंसेवी प्रयास गरिरहेका छन्। २०६९ मा पूर्णसञ्जीवनी माध्यमिक विद्यालय धुलिखेलबाट अवकाश पाएयता अधिकारीले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, धादिङ, नुवाकोट, मुस्ताक र काठमाडौँ उपत्यकाका १ सय ३० भन्दा बढी सामुदायिक विद्यालयमा विज्ञानका प्रयोगात्मक नमुना कक्षा सञ्चालन गरेका छन्।

अवकाशपछि सरकारले उपलब्ध गराइरहेको निवृत्तिभरण पनि ‘कामै नगरी कसरी खानु?’ भन्ने प्रश्नले आफूलाई यो अभियानमा प्रोत्साहित गरेको उनी बताउँछन्। समूहमा उपलब्ध भएसम्म शिक्षकहरूलाई तालिम दिने र प्रयोगात्मक शिक्षामा विद्यार्थीलाई अभिप्रेरित गर्न उनीहरूकै विद्यालयसम्म पुग्ने अभियानमा सघाउन इच्छुक गैरसरकारी संघ/संस्थाको सहयोग भने उनले अस्वीकार गरेका छन्। ‘आफ्नो ज्ञान र सीप समुदायमा पुर्‍याउने प्रयास आफैंले गर्नुपर्छ। अरूको सहयोग लिंदा आफू पनि उनीहरूको स्वार्थपूर्तिको माध्यम बन्न पुगिन्छ,’ उनी भन्छन्, ‘सार्वजनिक यातायातको भाडा तिरेपछि आसपास जिल्लाका विद्यालयसम्म पुग्न सकिएकै छ। जीविकोपार्जनका लागि सरकारले दिएको निवृत्तिभरण छँदै छ।’

अधिकारीलाई चिन्नेहरूका लागि उनको यो व्यवहार अनौठो भने होइन। ६५ वर्षीय यिनी औपचारिक शिक्षामा मात्र होइन, काभ्रेको वामपन्थी राजनीतिमा सक्रिय धेरैका दार्शनिक गुरु पनि हुन्। राष्ट्रिय शिक्षक संगठनको दुई कार्यकाल अध्यक्ष रहेका अधिकारी शिक्षक युनियनका संस्थापक अध्यक्ष पनि हुन्। घोषित सिद्धान्त र आदर्शप्रति आफूले विश्वास गरेका नेताहरू नै निष्ठावान छैनन् भन्ने निष्कर्षमा पुगेका अधिकारी पछिल्लो समय दलीय राजनीतिबाट टाढै छन्। विज्ञान शिक्षणमा मात्रै केन्द्रित भएका कारण उनको पुस्तक नेताहरूको स्खलन र राजनीतिक विचलनतर्फ भने प्रवेश गर्दैन। विज्ञानका विषय शिक्षक भएकाले पनि हुन सक्छ, उनको पुस्तकमा विस्तृतीकरण होइन, सूत्र पाइन्छ। पुस्तकलाई अनावश्यक गन्थनबाट जोगाए पनि गुरुले सिकारु प्रशिक्षार्थीका लागि अत्यावश्यक विस्तृतीकरणको भने अभाव देखिन्छ। चित्र र शीर्षकपछि सोझै प्रयोगात्मक कार्यका लागि आवश्यक सामग्रीको सूची, कार्य तयारीको निर्देशन र प्रयोगका तरिका उल्लेख छन्।
राजेन्द्र फुयाल

Page 26
कोसेली

बिजुली आएपछि गाँवै अँध्यारो !

चिउरा बेचेरै २०३० को दशकमा असनबाट साढे १४ पाथीको १ सय २८ रुपैयाँ जति रकम लिएर फर्कन्थे भक्तपुरका टिगनीबासी।
- अर्जुन पन्थी

टुकीको उज्यालोमा मध्यरातको एक बजेदेखि नै च्युरा कुट्ने हाते औजार ‘लुसी’ ले उगल (ओखल) मा ट्वाङ–ट्वाङ गरी च्युरा कुट्दा आउने आवाज अब भक्तपुर बोडे–टिगनीबासीका सम्झनामा मात्र छन्। ‘टिगनी बजी’ ब्रान्ड बनेको त्यो च्युरा ठिमीबाट असन र बाङ्गेमुढाका साहुकहाँ व्यापार हुने प्रिय वस्तु थिए। काठमाडौं खाल्डो मात्र होइन, तिब्बत र भोटसम्म यसको व्यापार हुन्थ्यो। २०३० सालमा बिजुलीबत्ती आएपछि भने गाउँभरि सुनिने त्यो ‘ट्वाङ–ट्वाङ’ आवाज बिस्तारै हराउँदै गयो। हाते श्रम गरेर जीविका चलाउने यो स्रोत हराउँदा भोकमरीजस्तै अनुभव भएको थियो टिगनीबासीलाई। यहाँ मैले त्यही च्युराको कथा विस्तारमा लेखेको छु। जुन अचेल भृकुटीमण्डपमा हुने घरेलु–प्रदर्शनीमा पनि आक्कलझुक्कल देखिन्छ(हेर्नुहोस् तस्विर) ।

गएको बर्खामा टिगनी बस्तीतिर पुग्दा भूकम्पले चर्काएर पनि टालेको पुरानो घरबाहिर एक जना आमै तान बुनिरहेकी थिइन्। त्यसै गरी ठिमी सहरको एक साहुले दिएको ‘अमिलो–गुलियो’ खानेकुरालाई बाटामा राखेर वरिपरिबाट महिला तथा केटाकेटी गोलो पारेर मिठाई बनाइरहेका थिए। उनीहरूले ज्यालामा त्यो काम गरिरहेका थिए। कोही एउटा सटरभित्र बसेर साग र धनियाँका पत्ताहरूलाई परालको त्यान्द्रोले बाँधिरहेका थिए। सामूहिक रूपमा तरकारी खेती गरेका उनीहरूले ‘सहर’ मा बेच्न त्यस्तो गरेका थिए। सामान्यतया यस्तै दृष्य देखिन्थ्यो टिगनीमा। अर्थात् चार दशकअघिसम्म ब्रान्डेड च्युरा बेच्ने टिगनीबासीको जीविकाको माध्यम बदलिएको देखिन्थ्यो। उनीहरू भन्थे, ‘उगल र लुसीलाई त धेरैले बन्चराले चिरेर आगो तापिसके।’

खरानी भइसकेको त्यो प्रविधिको विगतबारे मलाई रुचि थियो। कसैले बताइदेला कि भनेर गाउँभरि डुलें। किरानापसल थापेर बसेका राम राजबहाक मलाई टिगनी बजीबारे आफ्नो अनुभव सुनाउन तयार भए। ‘उबेला घरमा धेरै परिवार हुनेकहाँ उगल र लुसी चल्थे। अलि थोरै परिवार हुनेले काठमाडौंको बाङ्गेमुढाबाट चना केराउ ल्याएर भुट्थे।’ दुई ‘सिफ्ट’ मा काम गर्न धेरै मान्छे चाहिने भएकाले ठूलो परिवार वा समूहले मात्र बजी बनाउन सक्थ्यो। राति १ बजेदेखि बिहान ९ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म हुन्थ्यो यो काम।

राजबहाकका अनुसार बजी बनाउन उगल, पला (उगलको पनि भित्र राख्ने नफुट्ने काठ), लुसी (धान थिच्ने औजार), कुुसाकुटी (काठको पन्यू), धान भुट्ने हाँडी, चलाउने सिन्का (भुटना), माटाको उसिन्ने भाँडा (कासी) वा तामा अथवा सिलावरको भाँडा (फोसी), चाल्ना (सलिंचा), नाङ्लो (हासा), डाली (उसिना धानको पानी छान्न) आदि सामान चाहिन्थ्यो। राजबहाक ठिमीबासीलाई ‘ठूलो देश’ का मान्छे भनिरहेका थिए। यसबाट टिगनीका राजबहाक–समुदाय सीमान्तीकृत नेवारहरू हुन् भन्नेबारे मैले भेउ पाइसकेको थिएँ। किनभने बोडेको ठूलो फाँट गाउँको नाकैमुनि भएर पनि उनीहरूको थिएन। त्यो फाँट सबै ठिमीले नेवारहरूको थियो। यो सीमान्तकृत पक्ष अनुसन्धेय नै छ। मेरो उद्देश्य बजीबारे एकसरो जान्नुभएकाले सीमान्तकृत पक्षबारे म घोत्लिनुपरेन।


‘फोसीमा उसिनेको धानलाई पानी चुहिनेगरी डालोमा खन्याएपछि तात्तातै क्रमश: एक–एक माना उगलमा खन्याउँदै कुटिन्थ्यो,’ राजबाहकले त्यही आवाज दोहोर्‍याए, ‘ट्वाङ–ट्वाङ’ ‘ट्वाङ–ट्वाङ’। त्यसरी कुटेको धानबाट ३/४ किसिमका च्युरा निस्कन्थे। राजबहाकसँग कुराकानी गरिरहँदा अर्का एक जना पनि मेरा उत्तरदाता बन्न आइपुगे। राजबहाकहरू राजाका भान्सामा काम गर्ने भएकाले पकवानमा पोख्त भएको उनले सुनाए। तर अहिलेका युवाहरूलाई यो पक्ष त्यति मन पर्दैन रे। यही त्यान्द्रो समातेर अरूहरूले हेप्छन् कि भनेर। यी दोस्रा उत्तरदाताको नाउँ सानुकाजी थियो। उनले ३/४ किसिमको च्युराबारे थपे, ‘कुटेर राम्रो निस्किएको च्युरा ‘पुँ बजी’। टुक्रिएर निस्केको ‘चोक बजी’, भुसैसँग मिसिएर निस्किएको ‘माँ बजी’ र डल्ला–डल्ला भएर निस्किएको ‘प्याँ बजी’।’


यीमध्ये ‘पुँ बजी’ लाई नोचा (खर्पनजस्तै ‘नोल’) मा राखेर सहरतिर बेच्न लगिन्थ्यो। टिगनीबाट सिनामंगल–पुरानो बानेश्वर–डिल्लीबजार–बागबजारबाट पैदल हुँदै असनका ‘साहुको पसल’ मा बेचिन्थ्यो। चना–केराउ भुट्नेले त घरघर डुलेर पनि बेच्थे। त्यति मात्र कहाँ हो र ! टिगनीको बजी लिएर राजबहाकका पुर्खाहरू ल्हासा र तिब्बतसम्म पनि पुगेका रहेछन्। बाह्रबिसे माइती भएकी मिमाया राजबहाकले आफ्नो बिहेको रहस्य पनि खोलिन्। व्यापार गर्ने सिलसिलामा उनको श्रीमान् टिगनीबाट बाह्रबिसे गएको मौकामा देखादेख भएको रहेछ। धेरै पछिसम्म पनि त्यो रुटमा टिगनीबाट मानिसहरू व्यापार गर्न जाने रहेछन्। ‘त्यस्तो सम्बन्ध भएका मानिसहरू अरू पनि छन् टिगनीमा’ उनले भनेकी थिइन्।

उति बेला असनतिर बजी बेच्न हूलका हूल युवाहरू खर्पन बोकेर निस्कन्थे। राम राजबहाकले भने, ‘हामी नोल र ढोकर (बजी झुन्ड्याउने बोरा) बोकेर बिहान खाना खाई १० बजेदेखि डेढ दुई घण्टा एकोहोरो हिँड्थ्यौं। कम्तीमा १५ बढीमा ३० युवक असन बजारका लागि लहरै निस्कन्थ्यौं।’ गाउँमा चाहिँ बिहानको ९ देखि १२ बजेसम्म आराम लिएका मान्छेहरू दिउँसोको १ बजेदेखि ६ बजेसम्म फेरि कुटनीमा लाग्थे। दसैं र बिस्केट जात्राका ६/७ दिनबाहेक वर्षैभरि टिगनीले ट्वाङ–ट्वाङ आवाज दिइरहन्थ्यो।

चिउरा बेचेरै २०३० को दशकमा असनबाट साढे १४ पाथीको १ सय २८ रुपैयाँ जति रकम लिएर फर्कन्थे टिगनीबासी। राजबहाकले भने, ‘असनबाट लिएको सबै पैसा मैले बुवालाई दिन्थे। त्यो पैसाले उनीहरू ठिमीमा धान किन्न निस्कन्थे। त्यहाँ ताइचिन धान वा चिनी धान वा घैया धान खोज्न दिनभर लाग्थ्यो, उबेलाका ३२ घरे टिगनीबासीलाई। यसरी ठिमिलेकहाँबाट धान किनेर त्यसलाई चिउरा बनाई बेच्थे। अनि त्यो पैसाले फेरि ठिमिलेकहाँ नै किन्न जानुपर्ने चक्र घुमिरहेको थियो।

‘२०३०/३२ सालले ती दिन खोसेर लग्यो। त्यो समयमा गाउँमा बिजुली आएपछि गाउँ नै अँध्यारो भयो,’ राजबहाकले सुनाए, ‘टुकी निभेपछि एक्कासि भोकमरी सुरु भएझैं भयो।’ बिजुलीले गर्दा बोडेदेखि ठिमीसम्म नै लस्करै राइस मिलहरू खुले। जुन मिल एरियालाई अहिले ‘मिल रोड’ भनिन्छ। त्यसपछि क्रमश: उगल र लुसीलाई मान्छेहरूले दाउरा बनाए।

टिगनीमा ‘टिँ’ को अर्थ नेवारी भाषामा निगालो हो। निगालोबारे त मैले प्रश्न नै उठाइनँ। तर अहिले टिगनीमा न निगालो देखिन्छ न टिगनी बजी नै। २०३० को दशकपछि गाउँको परम्परागत जीविकोपार्जनको अवस्था तितरबितर भयो। कोही गलैंचामा कामदार बने। कोही चना–केराउ नै भुटिरहे। अझै पनि चनाकेराउ भुटेर सहर निकासी गर्ने परिवार मैले भेट्टाएँ। कोही तरकारी खेती गर्न थाले। कोही तरकारीका खुद्रा व्यापारी, कोही प्लम्बर बने। कोही हाउस वायरिङतिर लागे। कोही ज्यालादारी काममा लागे। अहिले करिब ५० देखि सय जना विदेश आउने–जाने पनि गर्छन्। विकल्पका पेसाहरू बलियो बनिसकेका छैनन्। बजी उत्पादनको ज्ञान धरापमा परेपछि बिजुलीबत्तीले पनि उज्यालो दिएको छैन टिगनीलाई।

कोसेली

वास्तविक परीक्षण

नेपालले प्ले–अफबाटै बाहिरिए पनि फेरि एसियन कप २०१९ को छनोट खेल्ने अवसर पाएको छ। यसमा नेपालको सम्भावना कस्तो छ?नेपाली राष्ट्रिय महिला टिम विश्वकप क्रिकेटको छनोटमा अगाडि बढ्न नसके पनि एसिया कपमा छनोट भएको छ। किन सम्भावनामै सीमित हुन्छ त?
- पर्वत पोर्तेल

दक्षिण कोरिया १६–० नेपाल। एसियन कप (सन् २००४) को छनोटमा १४ वर्षअघि इन्चोनमा बेहोरेको त्यो हारले नेपाली फुटबललाई ठूलै झट्का दिएको थियो। नेपाल महादेशीय प्रतियोगिताको अर्को संस्करणको छनोटमा सहभागी नै भएन। पूरा दुई वर्ष नेपालले अन्तर्राष्ट्रिय खेल नै खेलेन।

एसियन च्याम्पियनसिपको छनोटमा फेरि नेपाल एक संस्करण बिराएर फर्कियो। तर, नेपालको यात्रा ओमानले प्ले–अफमै समाप्त पारिदियो। एसियन कप २०११ छनोटका लागि च्यालेन्ज कपको घुमाउरो बाटो पनि नेपालका लागि सुहाउँदो भएन। फेरि १६ औं संस्करण २०१५ को छनोट खेल्ने मौका मिल्यो तर अन्तिम प्ले–अफमा जोर्डनसँग बेहोरेको नौ गोलले नेपाली फुटबलको धज्जी उडाइदिएको थियो। वर्षात्ले रुझेको दशरथ रंगशालामा भने नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो।

त्यस बेलाका कप्तान सागर थापाले अम्मानको नौ गोलले केही रात निद नै उडाइदिएको बताएका थिए। उनीसहित पाँच नेपाली फुटबलरलाई एसियाली फुटबल महासंघ (एएफसी) ले गत वर्ष ‘म्याच फिक्सिङ’ को आरोपमा आजीवन प्रतिबन्धमा लगाइदियो। डरलाग्दो रूप लिइसकेको फिक्सिङको कारण कारबाहीमा पर्ने त्रास वा नयाँ पुस्ताको प्रभावले हो नेपाली फुटबल ‘यु–टर्न’ नै भयो। नेपाली टिमले १५ महिनाभित्र चार उपाधि (साफ यु–१९, बंगबन्धु गोल्डकप, १२ औं साग र सोलिडारिटी कप) को उपाधि जित्यो।

सफलताको आधारमा अहिले नेपाली फुटबल स्वर्णिम युगमा छ। यो पुस्तालाई भाग्यले पनि साथ दिएको छ। त्यसैले त प्ले–अफबाटै बाहिरिइसके पनि फेरि एसियन कप २०१९ को छनोट खेल्ने अवसर मिलेको छ। त्यो पनि अन्तिम चरणको छनोट। खासमा भारतसँग प्ले–अफमा हारेपछि दुई वर्षअघि नै नेपालका लागि एसियन कप २०१९ मा अगाडि बढ्ने बाटो बन्द भइसकेको थियो, जुन विश्वकप २०१८ को छनोटको माध्यम पनि थियो।

एएफसीले आफ्नो मार्केटिङ पार्टनरको सर्त पूरा गर्न सोलिडारिटी कप आयोजना गरेको थियो। यसमा विश्वकप २०१८/एसियन कप २०१९ छनोटबाट बाहिरिएकाहरूलाई मात्र समावेश गरिएको थियो। सुजल श्रेष्ठको गोलसँगै नेपाल फाइनलमा १–० ले मकाउलाई हराएर च्याम्पियन बन्यो। यसबीच गुआमले एसियन कपको छनोटबाट नाम फिर्ता लियो। कुवेत निलम्बनमा पर्‍यो। दुई महिनाअघि मलेसियामा भएको सोलिडारिटी कपको सफलताको आधारमा नेपाल र मकाउको निम्ति एसियन कपको छनोट खेल्ने भाग्य खुलेको हो। यस अवसरलाई न भूत न भविष्यको रूपमा आयोजित सोलिडारिटी कपको उपहार मान्नुपर्छ।

जोर्डनसँग २०११ मा खेलेयता नेपालले एसियाली फुटबलको शक्तिशाली टिमसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छैन। फिलिपिन्ससँग तीन (मैत्रीपूर्ण) र प्यालेस्टाइनविरुद्ध दुई (च्यालेन्ज कप) र सिरियासँग एक (नेहरू कप) खेल खेल्नु नै नेपालको लागि ठूला टिमसँगको जम्काभेट थियो। एसियन कपको छनोट चैतमा सुरु भएर एक वर्ष चल्नेछ। अवुधावीमा सोमबार गरिएको छनोटको ‘ड्र’ मा समूह ‘एफ’ मा परेको नेपालले फिलिपिन्स, ताजिकिस्तान र यमनसँग प्रतिस्पर्धा गर्नेछ।


नेपालले १५ चैतमा मनिलामा फिलिपिन्सको सामना गर्दै छनोट यात्रा सुरु गर्नेछ। छनोट ‘होम एन्ड अवे’ को आधारमा सञ्चालन हुनेछ। फुटबलमा घरेलु मैदान र दर्शकले ठूलै अर्थ राख्ने गर्छ। मध्यपूर्वको द्वन्द्वको कारण यमनसँगको खेल तटस्थ भूमिमा हुनेछ। देशको एक्लो रंगशालाको रूपमा रहेको ‘दशरथ रंगशाला’ मकाभूकम्पले क्षतिग्रस्त बनाएको छ। त्यसैले नेपालको पनि ‘होम म्याच’ को मैदान निश्चित भइसकेको छैन। एएफसीको निरीक्षणले स्वीकार गर्‍यो भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्स वा हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा राष्ट्रिय टिमले विपक्षीलाई निम्त्याउनेछ।

नेपालले सन् १९८४ बाट एसियन कपको छनोट खेल्न थालेको हो। छनोटमा नेपालको यो सातौं सहभागिता हो। विगतका प्रतिस्पर्धा विपक्षी टिमलाई बढी गोल गर्ने अवसर नदिने भन्नेमा सीमित थियो। दक्षिण कोरियासँग १६–० को पराजय नेपाली फुटबल इतिहासकै सबभन्दा ठूलो हार हो। साँघुरो गोल अन्तरले हार्नु भनेको नेपाली खेलाडीको निम्ति छाती फुलाउने अवसर हुने गरेको थियो। यसपालिको नतिजा अलि भिन्न हुन सक्छ तर नेपाली टिमले छनोट पार गरेर फाइनल चरण पुग्ने लक्ष्य राख्नु भनेको अहिलेको स्थितिमा अस्वाभाविक देखिन्छ, सक्दै सकिन्न भन्नेचाहिं होइन।

छनोटमा २४ देश सहभागी छन्। यसबाट प्रत्येक समूहका शीर्ष दुई गरी १२ टिम एसियन कपमा छनोट हुनेछन्। उनीहरूले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, इराक, चीन, कतार, यूएई (आयोजक), उज्वेकिस्तान, थाइल्यान्ड र सिरियासँग २०१९ मा फाइनल चरण खेल्नेछन्। यी ठूला टिमहरू एसियन कपमा छनोट भएपछि विश्वकप २०१८ को छनोटमा प्रतिस्पर्धा गरिरहेका छन्।जोर्डन, ओमान, बहराइन, उत्तर कोरियाजस्ता ठूला टिमको समूहमा नपर्नु नेपालका लागि सुखद हो किनभने लाजमर्दो अन्तरको हार सोच्ने गरिन्न। नेपाल प्रतिद्वन्द्वीअनुसार खेल्ने टिम पनि हो। किनभने नेपालले उत्तर कोरियासँगको हार १–० मा सीमित पारेको थियो र जोर्डनसँग पनि बराबरी नतिजा निकालेको थियो। ठूला टिम छैनन् भन्दैमा खुसी मान्ने स्थिति पनि छैन।

तीनै प्रतिद्वन्द्वी फिफा वरीयतामा नेपालभन्दा माथि छन्। नेपाल १ सय ७५ औं स्थानमा छ भने यमन १ सय ४९, ताजिकिस्तान १ सय ३२ र फिलिपिन्स १ सय २२ औंमा छन्। उनीहरूले केही वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा नसोचिएका नतिजा हात पार्दै आएका छन्। यस्ता टिमसँग उत्कृष्ट खेल पस्किन सके नेपाली खेलाडीका निम्ति विदेशी क्लबको बजार पनि बढ्न सक्छ। अहिले गोलकिपर किरण चेम्जोङ (टीसी स्पोर्ट/माल्दिभ्स) विदेशी लिग खेल्ने एक्लो नेपाली फुटबलर हुन्। विमल घर्तीमगर र अन्जन विष्ट स्पेनको नन–लिग क्लब मार्बेला युनाइटेडमा ट्रेनिङ गरिरहेका छन्।

फिलिपिन्स र यमनसँगका सबै मैत्रीपूर्ण खेलको नतिजा नेपालले गुमाएको छ। ‘खेल सजिलो छैन, तैपनि मिहिनेत गर्नुपर्छ हिम्मत हार्नुहुन्न,’ राष्ट्रिय टिमका सहायक प्रशिक्षक राजुकाजी शाक्यले भने। एक वर्षयता निरन्तर हात पारेको सफलतासँगै राष्ट्रिय टिमका खेलाडी आत्मविश्वासी भएका छन्। तर, टिमभित्र सफलताबीच पनि थुप्रै कमजोरी लुकेका छन्। मुख्य प्रशिक्षक ग्योतोकु कोजीलाई ती कमजोरीहरू सच्याउने चुनौती छ।
बंगबन्धु, १२ औं साग र सोलिडारिटी कपमा नेपाली टिमको ‘आर्मब्यान्ड’ लगाएका विराज महर्जन अहिले करिअरकै सबभन्दा खराब लयमा छन्। तर उनको स्थान लिनसक्ने खेलाडी देखिंदैन। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजधानीको सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना नगरेको तीन वर्ष भयो। राष्ट्रिय लिग दुई वर्षअघि एकपल्ट सञ्चालन गरे पनि त्यसलाई निरन्तरता दिइएन। लिग नहुँदा नयाँ खेलाडीले प्रतिभा देखाउने अवसर पाएका छैनन्। त्यसैले खेलाडी छनोटका लागि कोजीलाई धेरै खेलाडी उपलब्ध छैनन्।

अहिलेको अवस्थामा नियमित प्रशिक्षण, माथिल्ला स्तरका टिमसँगको प्रतिस्पर्धाले नेपाली टिमलाई बलियो बनाउन सक्छ। साफ च्याम्पियन भारत, माल्दिभ्स, भुटानसँगै अफगानिस्तान (मध्यएसियामा सरेको भए पनि पछिल्लो साफ च्याम्पियनसिप खेलेको) एसियान कप छनोटमा रहेका दक्षिण एसियाली हुन्। माल्दिभ्स र भुटान ओमान र प्यालेस्टाइनको समूहमा परेका छन्। अफगानिस्तानले जोर्डन, भियतनाम र कम्बोडियासँग खेल्नेछ। भारतले किर्गिस्तान, म्यान्मार र मकाउको समूहमा प्रतिस्पर्धा गर्नेछ। यसर्थ फाइनल चरणमा छनोट हुने सम्भावना देखिएको दक्षिण एसियाली भारतलाई मान्नुपर्छ।

दक्षिण एसियालीसँगको प्रतिस्पर्धामा मात्र रम्दै आएको नेपालका लागि एसियन कप छनोट आफ्नो स्तर मापनका लागि ‘वास्तविक परीक्षण’ को अवसर पनि हुनेछ। सन् २०१७ को अन्त्यमा बंगलादेशमा साफ च्याम्पियनसिप आयोजना हुनेछ। एसियन कप छनोटको अनुभव त्यस बेला काम लाग्न सक्छ। त्यसैले छनोटका तयारी राम्रोसँग गर्ने हो भने त्यसले पहिलोपल्ट साफ च्याम्पियन बन्ने बाटो पनि कोर्न सक्छ।

Page 27
कोसेली

सरोज र ‘१२ दुर्वासा’

जीवन्त र यथार्थपरक अभिनयबाट चिनिएका सरोज खनाल भन्छन्– नाटक खेल्दा ‘रिफ्रेस’ भइन्छ ।
- गोकर्ण गौतम

 

अमेरिकाबाट फर्किएको दुई वर्षमा सरोज खनालले आठवटा फिल्म खेले। ‘प्रेमगीत’ र ‘नाइँ नभन्नु ल ४’ सफल पनि भयो। ६ वटा त रिलिज हुनै बाँकी छन्। तैपनि सरोजको आँत भरिएन। उनकै शब्दमा, ‘मनोटोनस’ महसुस हुन थाल्यो। त्यही बेला उनको हातमा रंगकर्मी राजन खतिवडाले नाटक ‘टुभेल्ब एंग्री म्यान’ को स्क्रिप्ट थपाइदिएका थिए एक्कासि। जीवन्त र यथार्थपरक अभिनयबाट चिनिएका यी अभिनेता भन्छन्, ‘मेरो भित्री मनले नाटक खेल्दा ‘रिफ्रेस’ भइन्छ भनिरहेको थियो। तर मेसो मिलेको थिएन। त्यसमाथि यति प्रभावशाली नाटक पाएपछि के चाहियो र? हत्तपत्त राजी भएँ।’ एक हप्ताको ‘रिडिङ’ अनि तीन हप्ताको रिहर्सलपछि उक्त नाटक ‘१२ दुर्वासा’ को नाममा गत मंगलबार (११ माघ) बाट अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ। 

अहिले जसरी फिल्ममा सौगात मल्ल, दयाहाङ राईको जगजगी छ। उसैगरी अढाई दशकअघि सरोजको शान ठूलो थियो। सरोजले पनि सौगातहरूजस्तै नाटकबाट फिल्ममा फड्को मारेका थिए। तर सफलताको शिखरमा रहेकै बेला उनी अमेरिका भासिए, नाटक र फिल्म दुवै बिरानो बन्दै गयो। पहिलो सो सुरु हुनुभन्दा केही घन्टाअगाडि सरोज भन्दै थिए, ‘दुई दशक भएछ, यसरी औपचारिक नाटकका लागि मञ्चमा  नउक्लिएको। त्यसैले थोरै नर्भसजस्तो पनि छु। सरोजले खेलेको अन्तिम नाटक थियो, सुनील पोखरेल निर्देशित बिनाचिहानको मृत्यु। त्यसयता उनले अमेरिकामा केही सोलो पर्फमेन्स त गरे, तर व्यावसायिक र व्यवस्थित नाटक गर्ने मौका जुरेको थिएन। एकातिर, १२ दुर्वासामा उनलाई दिइएको भूमिका नाटकको मुुटु हो, अर्कातिर त्यो भूमिका उनको वास्तविकताभन्दा बिल्कुल भिन्न। भन्छन्, ‘म कहिल्यै रिसाउन जान्दिनँ तर भूमिकाचाहिं निकै ‘लाउड’ र ‘एग्रेसिभ’ छ।’

अमेरिकी पटकथाकार रेनाल्ड रोजले ‘टुभेल्ब एंग्री म्यान’ एकै पटक फिल्म, नाटक र टेलिसिरियलका लागि लेखेका थिए। नाटकमा बाबु हत्याको आरोप लागेको केटो दोषी वा निर्दोष हो भनेर १२ जना ‘ट्राएल जज’ बीच चर्काचर्की बहस हुन्छ। सन् १९५७ मा रेनाल्डकै पटकथामा हलिउड निर्देशक सिड्नी लुमेटले फिल्म बनाए। त्यसपछि संसारका विभिन्न देशमा यसलाई नाटक र फिल्ममा रूपान्तरण गर्ने लहर नै चल्यो। भारतमा सन् १९८६ मा वासु चटर्जीले ‘रुका हुवा एक फैसला’ फिल्म बनाएका थिए। जसमा पंकज कपुर, अन्नु कपुर, एमके रैना, केके रैनालगायतका भारतीय रंगमञ्चका हस्तीहरूले अभिनय गरेका छन्। राजनले भने पहिलो पटक फिल्म निर्देशक मनोज पण्डितबाट ‘टुभेल्ब एंग्री म्यान’ को बारेमा थाहा पाएका रहेछन्, ६ महिनाअगाडि। ‘रुका हुवा एक फैसला’ हेरेपछि उनी झन् हौसिए, तर अनुवादको चिन्ता? राजनले खुसी हुँदै सुनाए, ‘बुझ्दै जाँदा त सुरेश सापकोटाले अनुवाद गरिसकेको थाहा पाएँ, निकै सुन्दर शैलीले। अनि त कम्मर कसेर मञ्चमा उतार्छु भनेर लागिपरें।’

तर संसारभरबाट बटुलेको गरिमा घट्ला कि भन्ने भयंकर डर थियो उनलाई। आरोहण गुरुकुलबाट दीक्षित निर्देशक राजन भन्छन्, ‘सबभन्दा सतर्क त कलाकार छान्न मै थिएँ।’ नहुनु पनि कसरी, १२ चरित्रलाई डेढ घण्टासम्म लगातार स्टेजमा हेरिहरनुपर्छ दर्शकले। न कसैको ‘इन्ट्री’ हुन्छ, न कसैको ‘एक्जिट’। सबै पात्र एकअर्कामा अपरिचित हुन्छन्, संवाद, हुलिया र हाउभाउमा उनीहरूको पृष्ठभूमि झल्कनुपर्छ।


चरित्रको यही ओझ आत्मसात् गर्ने कलाकार खोज्न भौतारिरहेका बेला राजनको नजरमा परेका रहेछन्, सरोज। त्यसो त उनले सरोजसँगै नीर शाह र टीका पहारीलाई पनि प्रस्ताव राखेका थिए तर उनीहरूको समय मिलेन। मूल नाटकमा सबै पात्र पुरुष मात्र छन्, तत्कालीन समयको परिस्थितिअनुसार त्यो ठीकै पनि थियो होला तर अहिले समाजको आधा हिस्सा त महिलाले ओगटिसकेका छन्। सोही कारण राजनले चुनौतीले मोले कि ६ जना पात्र महिला राख्ने। सोहीअनुरूपको गृहकार्यमा पनि लागे तर गौरी मल्ल र अरुणा कार्कीले नभ्याएपछि महिला पात्र ४ मा सीमित भएका छन्। सरोजको ‘काउन्टर’ मा छिन्, पशुपति राई। उनीबाहेक सरिता गिरी, सिर्जना सुब्बा र लक्ष्मी बर्देवा पनि नाटकका हिस्सा हुन्।

सरोज त स्टार नै भइहाले, बाँकी ११ पात्रमध्ये अधिकांश रंगमञ्चका ‘स्टार’ नै हुन्। नयाँ भन्नु त, कुशल पाण्डे, पुष्कर कार्की र आयान
खड्का मात्र हुन्। सरिता आरोहण गुरुकुलकी पहिलो ब्याच हुन्, पशुपतिले एक दर्जनभन्दा ज्यादा चर्चित नाटकमा अभिनय गरिसकेकी छन्। लुट, राहदानीलगायतका फिल्म खेलेकी सिर्जना मण्डलाको स्थापनाबाटै जोडिएकी हुन्। चार वर्षयता रंगमञ्चमा सक्रिय लक्ष्मी प्रतिभाशाली कलाकारमा दरिन्छिन्। त्यस्तै, भारतीय रंगमञ्चमा दुई दशक बिताएका विशारद बस्नेतले १२ दुर्वासामा अभिनय गरेका छन्। प्राय: कमेडी प्रधान भूमिकामा जमेका कलाकार तथा निर्देशक सोमथान खनाललाई यसमा गम्भीर र परिपक्व चरित्रमा देख्न पाइन्छ। अनुपम शर्मा अर्को आकर्षण हुन, नाटकका। सायद २, गाँठोजस्ता फिल्ममा अभिनय गरिसकेका अभय बराललाई पनि यसमा देख्न पाइन्छ। बादल भट्टचाहिं शिल्पी थिएटरसँग आवद्ध छन्। यी सबै कलाकारको तालमेल मिलाउन राजनलाई हम्मेहम्मे परेन। उनी ढाँट्दैनन्, ‘हरेक कलाकारले आफ्नो उपस्थिति बढी खोज्छ। त्यसमाथि यसमा समकक्षी कलाकार धेरै छन्। त्यसैले व्यापक अन्तरविरोध भयो, जुन स्वाभाविक पनि हो।’ उनले कलाकारबीचको त्यही वास्तविक ‘इगो’ लाई पात्रमा रूपान्तरित गर्ने प्रयास गरेको पनि बताए।

उता, सरोजचाहिं इच्छाशक्ति र मिहिनेतले भरिएका कलाकारसँग काम गर्न पाएको भन्दै दंग छन्। ‘सिनियर कलाकारको रूपमा गर्नुपर्ने सम्मान त गर्नुभयो नै, खुलेरै मेरो कमजोरी पनि औंलाइदिनुभयो,’ वर्षमा २–३ वटा नाटक खेल्ने योजना बनाएका सरोज भन्छन्, ‘अमेरिकाबाट फर्किएपछि अभिनय गरेका आठ फिल्मबाट नसिकेको कुरा र नपाएको सन्तुष्टि यही नाटकले दियो।’ सोमनाथ र अनुपमको काम गर्ने शैलीबाट उनी अझ प्रभावित भएका छन्। रमाइलो त के भने सबै कलाकारले उनी अमेरिका भासिएपछि अभिनय यात्रा सुरु गरेका थिए। लक्ष्मीले सुनाइन्, ‘हामी उहाँ (सरोज) भन्दा निकै जुनियर हौं तर पनि कुनै ‘ग्याप’ महसुस भएन। एकदम सौहार्द, सहज र आत्मीय आभास गराउनुभयो।’ राजन पनि सरोजको शालीनता र नयाँ कलाकारझैं सिक्न खोज्ने बानीबाट औधि प्रभावित भए। हुन पनि, महिना दिनको नियमित वर्कसपमा न सरोज कहिल्यै ढिला आए, न छिट्टै जानै खोजे।

लोकतन्त्रको ‘ब्युटी’ हो, बहस, विर्मश र अन्तरक्रिया। जसका कारण निर्णयपश्चात् पश्चत्ताप गर्नुपर्ने अवस्था हुँदैन। तर विडम्बना ! हामीकहाँ निर्णय गर्नुपूर्व पर्याप्त छलफल हैन, हतार गरिन्छ, पूर्वाग्रह राखिन्छ। राजनीति र कर्मचारीतन्त्र यस्तै नियतिको सिकार भइरहेका छन्। १२ दुर्वसा त्यो मनोदशाको विपक्षमा छ, सतही सत्यलाई इन्कार गरेको छ, फरक मतलाई स्थान दिनुपर्ने यथार्थलाई आत्मसात् गरेको छ। राजन र सरोजको एउटै मत छ, ‘त्यसैले नाटक हेर्नुपर्ने खास वर्ग नीतिनिर्माता हुन्। ग्य ! ती नाटक हेर्न आउँदैनन्।’

कोसेली

रातो खामको युद्ध

- चेतनाथ आचार्य

यसै त कम्युनिस्ट मुलुक त्यसमाथि परम्परादेखि नै रातो रङ मन पराउने चिनियाँहरू। ड्रागन रातो, सजावट रातो, आतिथ्य सत्कारको ब्यानर रातो, उपहारको र्‍यापिङ रातो अनि झन्डा रातो। चीनमा रातो रङलाई शक्ति, खुसी, असल भाग्य र शुभसंकेतका रूपमा लिइन्छ। चिनियाँ परम्परागत नयाँ वर्षलाई वसन्त चाड भनिन्छ। चीनमा जनवरी २८ अर्थात् माघ १५ देखि बाँदर वर्षलाई बिदा भएर कुखुरा वर्ष भित्रिँदै छ। अनि यसै दिनदेखि वसन्त ऋतु सुरु हुने भएकाले यसलाई वसन्त चाड पनि भनिएको हो। चीनमा कुखुरा वर्षमा जन्मिएका सबै व्यक्तिले आजको दिन रातो रङको बिकनी लगाउने गर्छन्। बेच्न राखिएका रातो रङका भित्री पोसाक र विभिन्न सजावटले बजार नै राताम्मे बनेको छ। वसन्त चाडका अवसरमा चीनमा उपहारका रूपमा आदानप्रदान गरिने पैसा पनि रातो खाममा टक्रयाइन्छ।

चीनमा रातो खाम निकै प्रचलित छ। विशेषगरी जन्मदिन, विवाह र नयाँ वर्षमा उपहार दिनका लागि रातो खामको प्रयोग गरिन्छ। यस्तो रातो खामभित्र नगद राखिएको हुन्छ र चिनियाँ भाषामा होङपावो भनिन्छ। चिनियाँ भाषामा होङ भनेको रातो हो भने पावो भनेको खाम हो। वसन्त चाडमा रातो खाममा राखेर पैसा दिनेबारेमा चीनमा एउटा कथा प्रचलित छ। परापूर्वकालमा कुनै चिनियाँ गाउँमा राक्षसले बालबालिकाहरू सुतिरहेको बेला उनीहरूको टाउकोमा छुने गथ्र्यो। राक्षसले छोएपछि बालिबालिकाहरू सिकिस्त बिरामी हुने अथवा मर्ने गर्थे। राक्षसबाट दु:ख पाएपछि त्यहाँका मानिसले भगवान्को आराधना गरे। भगवान्ले आठवटी परीलाई बालबालिकाको रक्षा गर्न पठाए। ती आठवटी परीहरू आफ्नो रूप बदलेर सिक्काको रूप लिई बालबालिकाको सिरानीमुनि पसे। जब राति राक्षस आयो सिक्काको रूपमा रहेका ती परीले चम्किलो प्रकाश छरेर राक्षसलाई भगाए। यसपछि वसन्त चाडमा बालिबालिकालाई पैसा दिने चलन चलेको हो। यो प्रचलन बालबालिकाबाट अरू सबैमा छरिन थाल्यो। हिजोआजको डिजिटल युगमा मोबाइलबाट विच्याट र एलिपे एप प्रयोग गरेर रातो खाम मार्फत हुने पैसाको कारोबार चिताइ नसक्नुको हुन्छ। यसलाई चीनमा विच्याट र अलिपेको रातो खामको युद्ध पनि भनिन्छ। रातो खामभित्र जोडा नम्बरको पैसा राखिन्छ। मत्यु भइसकेको मान्छेका नाममा दिइने पैसा भने बिजोडी नम्बरमा राखिन्छ। चिनियाँ विश्वासअनुसार सकेसम्म चारबाट सुरु भएको मात्रा ४, ४०, ४४ को संख्यामा पैसा राखिन्न। चीनमा चारलाई अपसकुनका रूपमा लिइन्छ। पहिले रातो खाममार्फत असीमित मात्रामा उपहारको रूपमा पैसा पठाउन सकिन्थ्यो तर अहिले चीनमा भ्रष्टाचार बढेकाले विच्याटले २०० युआनभन्दा बढी पठाउन नसकिने व्यवस्था गरेको छ। विशेषगरी पाँच दसमलव २० चिनियाँ युआन पठाउनु राम्रो हुन्छ किनभने ५२० लाई चिनियाँ उच्चारणमा आई लभ यु भनेजस्तै सुनिन्छ।

विच्याटले सन् २०१३ को जुनदेखि किनमेल गर्न सकिने व्यवस्था सुरु गरेको हो। सन् २०१४ जनवरी १७ देखि रातो खाममा पैसा उपहार दिन सकिने सुविधा थपिएपछि वसन्त चाडमा भर्चुअल खाम प्रयोगमा आउन थालेको हो। पहिले अलिबाबाले पनि आफ्नो मोभमेन्ट विच्याटमै सेयर गथ्र्याे। तर प्रतिस्पर्धा बढेपछि विच्याटले अलिबाबाको अलिपेमार्फत पैसा प्रदान गर्ने गतिविधिलाई निष्क्रिय बनाएपछि अलिपेले छुट्टै सफ्टवेयर बनाएर काम गर्न थाल्यो।

वसन्त चाडका अवसरमा सीसीटीभीले आयोजना गर्ने सांगीतिक गाला हेर्ने दर्शकहरूलाई विच्याटबाट भाग्यशाली पैसा वितरण गर्न थालेपछि यसले अझै लोकप्रियता पायो। सन् २०१५ देखि वसन्त चाडका अवसरमा टिन्सेन्ट कम्पनीको विच्याट र अलिबाबाको अलिपेबीचमा रातो खामको युद्ध सुरु भएको छ। सन् २०१४ को वसन्त चाडको सीसीटीभी गाला हेर्ने दर्शकहरूलाई मोबाइल हल्लाएर भाग्यशाली पैसा लिन भनिएको थियो। सो अवसरमा विच्याटले एक अर्ब २० करोड राता खाममा ५० अर्ब चिनियाँ युआन राखेर वितरण गरेको थियो। सन् २०१५ को वसन्त चाडको पूर्वसन्ध्या पारेर फेब्रुअरी १० मा अलिबाबाले मोबाइलको एप अलिपेमार्फत ६० करोड चिनियाँ युआन भाग्यशाली पैसा दिने घोषणा गर्‍यो। जसमा १५ करोड ६० लाख चिनियाँ युआन नगद र ४३ करोड ४० लाख चिनियाँ युआन बराबरका किनमेलका कुपनहरू राखिएका थिए।

अलिबाबाको घोषणाको आधा दिन नबित्दै विच्याटले ५० करोड नगद र ३ अर्ब चिनियाँ युआन बराबरका किनमेल कुपन दिने घोषणा गर्‍यो। यहीँबाट सुरु भयो अलिपे र विच्याटबीचमा रातो खामको युद्ध। सन् २०१४ को चिनियाँ नयाँ वर्ष सुरु हुने अघिल्लो साँझ एक करोड ६० लाख रातो खाम आदानप्रदान भएको थियो। सन् २०१५ मा एक अर्ब चिनियाँ युआन आदानप्रदान भएको थियो। सन् २०१५ को चिनियाँ नयाँ वर्षमा अलिपेमार्फत ८८ करोड रातो खाम प्रतिमिनेट आदानप्रदान भएका थिए भने विच्याटमार्फत ८१ करोड प्रतिमिनेट आदानप्रदान भएका थिए। सोही अवधिमा विच्याटमार्फत जम्मा एक अर्ब रातो खाम आदानप्रदान भएका थिए भने अलिपेमार्फत ६८ करोड ३० लाख व्यक्तिहरूले पैसा लिने भाग्यशाली खेलमा सहभागी भएका थिए। उनीहरूमध्ये २४ करोड राता खाममार्फत ४ अर्ब चिनियाँ युआन आदानप्रदान भएको थियो।सन् २०१६ को वसन्त चाडमा विच्याटले ८ अर्ब व्यक्ति (पटकपटक गरी) भाग्यशाली पैसा लिने कार्यमा सहभागी भएका थिए जसमध्ये ३ अर्ब २० करोड पटक रातो खाम मार्फत पैसा आदानप्रदान भएको थियो। अलिपेले चाहिँ यो संख्या खुलाएको छैन।