You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

प्रमुख दलका शीर्ष नेताले एकै स्वरमा भने–ढुक्क भएर लगानी गर्नुस्

लगानी सम्मेलन
- कृष्ण आचार्य
राजधानीमा बिहीबार सुरु लगानी सम्मेलनमा मन्तव्य दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल । साथमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलगायत ।  तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

काठमाडौं– उदारीकरण सुरु भएपछि उद्योगधन्दा स्थापनाको अनुमतिका लागि सरकारी ढोका धाउनुपर्ने लगानीकर्ताहरूलाई सरकारले नै बोलाएर लगानी गर्न आह्वान गरेको छ । काठमाडौंमा बिहीबार सुरु ‘लगानी सम्मेलन’मा सरकार, सत्तारूढ दल मात्रै नभएर प्रमुख प्रतिपक्ष दल समेतले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आह्वान गरेका हुन् ।

एजेन्डा अनुसार विभाजित हुने पार्टीका प्रमुख नेताहरूले लगानी
भित्र्याउने विषयमा भने एकै प्रकृतिको प्रतिबद्धता जाहेर गरे । कांग्रेस, माओवादी केन्द्र र एमाले नेतृत्वले लगानीका सवालमा सबै राजनीतिक दल एकै ठाउँमा रहेको देखाए ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले आर्थिक विकास र लगानीको एजेन्डामा आफूहरूबीच कुनै विमति नरहेको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । ‘हामीले अद्वितीय शैलीमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याइसकेका छौं, गत वर्ष संविधान जारी गरी राजनीतिक संक्रमणकालको अन्त्य पनि भइसकेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘अबको हाम्रो एजेन्डा आर्थिक विकास नै हो । प्रमुख दलहरूबीच आर्थिक विषयमा विमति छैन । लगानी गर्नुस् । सुरक्षा हुने ग्यारेन्टी गर्छौं ।’ उनले सरकारको ध्यान लगानी आकर्षण गर्नमै केन्द्रित रहेको उल्लेख गरे ।

कांग्रेस सभापति देउवाले विमानस्थल सहितका पूर्वाधार आयोजना, ऊर्जा, दूरसञ्चार, कृषिमा केन्द्रित रहेर लगानी गर्न आह्वान गरे । ‘कांग्रेसकै नेतृत्वमा उदारीकरणको सुरुवात भएको हो, तर अझै पनि पर्याप्त लगानी आउन सकिरहेको छैन,’ उनले भने, ‘दोस्रो चरणको आर्थिक सुधारमा छौं, निजी क्षेत्रलाई प्रथमिकताका साथ अगाडि बढाउने नीति रहेको छ ।’ ढुक्क भएर लगानी गर्न उनले आग्रह गरे ।अध्यक्ष ओलीले एमाले प्रमुख प्रतिपक्षी दल भए पनि आर्थिक विकास र लगानीको मुद्दामा एकै ठाउँमा रहेको जनाउ दिँदै दाहाल र देउवाकै शैलीमा लगानी गर्न आह्वान गरे । राजनीतिक एजेन्डामा दलहरूबीच फरक मत रहे पनि आर्थिक मुद्दामा एकमत रहेको उनले प्रस्ट पारे ।

‘नेपालका लागि अबको आवश्यकता भनेको लगानी तथा आर्थिक समृद्धि नै हो,’ उनले भने, ‘म प्रतिपक्षी दलको नेता हुँ, तर आर्थिक विकासको विषयमा नेपालमा रहेका राजनीतिक दलहरूबीचमा कुनै फरक धारणा छैन ।’ प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूसँग लगानीकर्ताको सोझै भेट हुनसक्ने उल्लेख गर्दै ओलीले ढुक्क भएर लगानी गर्न आग्रह गरे । ‘तर पनि केही समस्या भए सम्पर्क गर्नुस्, हामी सामधान गरिदिन्छौं,’ उनले भने, ‘तपाईंहरूलाई स्वागत छ– सम्मेलनका लागि मात्र होइन, लगानीकै लागि ।’

२३ मुलुकका लगानीकर्ताको जमघट
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीका अनुसार सम्मेलनमा नेपालबाहेक २३ वटा मुलुकका २ सय ७५ व्यक्ति तथा कम्पनीको सहभागिता छ । दुई छिमेकी चीन र भारतसहित बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अस्ट्ेरलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रसिया, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत मुलुकका लगानीकर्ता छन् । स्वदेशीसहित गरेर करिब हजार लगानीकर्ताको सम्मेलनमा सहभागिता छ ।

‘सबैभन्दा बढी चीनबाट ९० व्यक्ति तथा कम्पनी आएका छन्,’ अधिकारीले भने, ‘त्यसपछि भारतबाट ३० लगानीकर्ताले सहभागिता जनाएका छन् ।’ बहुराष्ट्रिय कम्पनीहरू कोकाकोला, माइक्रोसफ्ट, युनिलिभर, जीएमआर, सतलज निगम, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी), विश्व बैंक, एसियालि विकास बैंक, नाइजेरियाको डांगोटे, चीनको होङ्सी लगायतबाट समेत सहभागिता रहेको छ ।

 दुइ दिन चल्ने सम्मेलनमा ऊर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी, कृषि तथा वनसहित ९ विषयमा विभिन्न सत्र हुनेछन् । छलफल सत्रमा क्षेत्रगत विज्ञ, लगानीकर्ता, कूटनीतिक नियोगका प्रतिनिधिलगायत सरोकारवाला निकाय रहनेछन् । छलफलले लगानीका क्षेत्रको पहिचान र नेपालको नीतिगत तथा प्रशासनिक व्यवस्था र सुधारका उपायहरूको खोजी गर्ने आयोजकको भनाइ छ ।

सम्मेलनमा हुने छलफलका समस्या सुधार तथा प्रतिबद्धताको कार्यान्वयन गर्न राष्ट्रिय योजना आयोगअन्तर्गत नीतिगत सुधार समिति, अर्थ मन्त्रालयको संयोजकत्वमा परियोजना बैंक परिमार्जन समिति, लगानी बोर्डको संयोजकत्वमा औद्योगिक प्रवद्र्धन समिति र उद्योग मन्त्रालयको संयोजकत्वमा समग्र समन्वय समिति गठन गरिनेछ ।

भारतीय वित्तमन्त्री र एआईआईबी अध्यक्ष प्रमुख वक्ता
सम्मेलनमा भारतीय वित्तमन्त्री अरुण जेट्ली, एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का अध्यक्ष जिन लिक्वुन प्रमुख वक्ता थिए । उद्घाटन सत्रलाई समबोधन गर्दै एआईआईबीका अध्यक्ष लिक्वुनले नेपालमा ठूला आयोजनामा लगानी गर्न इच्छुक रहेको बताए । जनताका लागि फाइदा हुने क्षेत्रमा गरिने लगानीलाई नेपाल सरकारले सहयोग गर्न‘पर्ने उनले बताए । एआईआईबी सामाजिक तथा वातावरणीय रूपमा अगाडि बढाउन स्थापित भएको र लगानी सोही क्षेत्रमा हुने उनले बताए ।

उद्घाटनपछिको तेस्रो सत्रमा सहभागी हुन आइपुगेका भारतीय वित्तमन्त्री जेट्लीले मुलुकको विकासका लागि लगानी महत्त्वपूर्ण हुने बताए । नेपालमा पनि विकासका सम्भावित क्षेत्रहरू धेरै रहेको धारणा उनले राखे । ‘प्राकृतिक स्रोत छ, सभ्य जनशक्ति पनि छ । नेपालको जनशक्तिले भारतको अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्‍याएको छ,’ उनले भने, ‘तपाईंहरूको सरकार लगानी बढाउन लागिपरिरहेको छ, यो निकै सकारात्मक हो ।’ नेपालको लगानी तथा विकासमा सहयोग पुर्‍याउन भारत सधैं सकारात्मक रहेकोमा उनले जोड दिए । ‘के के गर्नुपर्छ हामी तयार छौं,’ उनले भने, ‘पूर्वाधार क्षेत्रमा सहयोग गर्न चाहन्छौं ।’

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री रामशरण महतले नेपालको हालको अवस्था, अवसर र लगानीका सम्भावित क्षेत्रबारे प्रस्ट पारेका थिए । महतले लगानी भित्र्याउन केही ऐन कानुनसमेत परिवर्तन भइसकेको जनाए । उद्योगमन्त्री नवीन्द्रराज जोशीले दोस्रो चरणको सुधारको अभियान सुरु भएकाले लगानीमैत्री वातावरण बनेको उल्लेख गरे ।

यसअघिका प्रतिबद्धता ५ खर्ब ३८ अर्ब
हालसम्म ३ हजार ८६१ उद्योग/ प्रतिष्ठानमा २ खर्ब ४ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आइसकेको उद्योग विभागले जनाएको छ । १० अर्ब र ५ सय मेगावाटभन्दा कमका आयोजनाको विदेशी लगानी अनुमति औद्योगिक प्रवद्र्धन बोर्डले दिन्छ भने १० अर्ब तथा ५ सय मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनाको अनुमति लगानी बोर्डबाट लिनुपर्छ ।

बोर्डबाट ९/९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली र अरुण तेस्रो, ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनाले विदेशी लगानी भित्र्याउने अनुमति पाएका छन् । अरुण तेस्रोमा करिब १ खर्बको लगानी प्रतिबद्धता छ । माथिल्लो कर्णालीको प्रवद्र्धक कम्पनी जीएमआरले १ खर्ब ३९ अर्ब रुपैयाँको प्रतिबद्धता जनाएको छ । चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिकले पश्चिम सेतीका लागि १ खर्ब ४८ अर्ब एफडीआई बोर्डबाट स्वीकृत गराएको छ ।

भारतको रिलायन्स, चीनको होङ्सी, नाइजेरियाको डांगोटे कम्पनीले सिमेन्टमा लगानी गर्ने गरी एफडीआई स्वीकृत गराएका छन् । यी तीन कम्पनीबाट क्रमश: ४० अर्ब, ५५ अर्ब र ३६ अर्ब रुपैयाँको प्रतिबद्धता छ । लगानी सम्मेलनमा थप १ खर्ब रुपैयाँको प्रतिबद्धता आउने अपेक्षा छ ।

गृह पृष्ठ

सर्वोच्चले माग्यो निर्वाचन कार्ययोजना

- कान्तिपुर संवाददाता

काठमाडौं– सर्वोच्च अदालतले आगामी माघ ७ भित्र तीनवटै तहको निर्वाचन गर्ने सरकारी प्रतिबद्धताको कार्ययोजना पेस गर्न आदेश दिएको छ । सर्वोच्चले स्थानीयबाहेक दुई तहको निर्वाचनका लागि आवश्यक कानुन निर्माणको तयारी, निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको प्रक्रिया र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न सरकारले तयार पारेको कार्ययोजनाबारे १० दिनभित्र विवरणसहितको जवाफ पेस गर्न आदेश दिएको हो ।

‘आगामी माघ ७ भित्र तीन तहकै निर्वाचन सम्पन्न गर्न संवैधानिक सीमालाई केन्द्रविन्दुमा राखेर दायित्व पूरा गर्न दृढ रहेको भन्ने प्रधानमन्त्रीको लिखित जवाफ देखिएको छ,’ आदेशमा भनिएको छ, ‘निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कामकारबाहीको कार्ययोजना के कुन अवस्थामा छ, नियमअनुसार पेस गर्नू ।’ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक काम कारबाहीमा सरकारले पहल गर्न नसकेको भन्दै विभिन्न आदेशको माग राखी सर्वोच्चमा रिट दायर भएको थियो । त्यसमाथिको सुनुवाइका क्रममा न्यायाधीशद्वारा हरिकुमार कार्की र अनिलकुमार सिन्हाको संयुक्त इजलासले बिहीबार सरकारलाई यस्तो आदेश दिएको हो । संक्रमणकाल अन्त्यका लागि संविधानले बाध्यकारी रूपमा तोकेको निर्वाचनमा सरकारको प्रतिबद्धतामाथि थप सुनिश्चितता खोजेर सर्वोच्चले प्रतिवेदन मागेको  रिट निवेदक अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बताए । ‘सरकारले निर्वाचनको प्रतिबद्धता त लिखित जवाफमै व्यक्त गरिसकेको छ,’ उनले भने, ‘तर त्यसका आधार कत्तिको तयार भएका छन् भनेर सुनिश्चित गर्नकै लागि आवश्यक कामकारबाही र प्रक्रियाको विवरण मागिएको हो ।’

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक कानुन हालसम्म बनेका छैनन् । कानुन मन्त्रालयले तयार पारेको सूचीमा उल्लेखित समयसीमा कटिसक्दा पनि विधेयकको मस्यौदा तयार हुन सकेको छैन । २०७३ मंसिर मसान्तभित्र तयार हुनुपर्ने निर्वाचन क्षेत्र निर्धारण विधेयक पनि बनेको छैन । गत कात्तिक मसान्तभित्र गठन भई माघभित्र प्रतिवेदन पेस गर्नुपर्ने निर्वाचन क्षेत्र निर्धारण आयोगबारे हालसम्म सरकारले काम अघि बढाउन सकेको छैन ।

संघीय र प्रदेशसभाका लागि छुट्टाछुट्टै रूपमा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्छ । त्यसैगरी प्रतिनिधि र प्रदेशसभा निर्वाचन विधेयक पनि तयार भएको छैन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणा गरी कार्यान्वयनको आदेश जारी गर्न माग गरी अधिवक्ताहरू ज्ञवालीसहित लीलाधर उपाध्याय, विमल ज्ञवाली र शशिकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले निर्वाचन गर्न आवश्यक कानुनको निर्माण, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र कार्ययोजना तयार गर्न आदेश जारी गर्न पनि निवेदनमा माग गरेका छन् ।

दुई साता अघिमात्रै सर्वोच्च अदालतले आगामी माघ ७ भित्र संक्रमणकालीन व्यवस्था अन्त्य गरी संविधानको पूर्ण कार्यान्वयन हुनुपर्ने संवैधानिक व्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएको थियो । माघ ७ को समय सीमाभित्र तीनवटै तहको निर्वाचन नगरी अन्यथा परिकल्पना गरे ‘संविधानप्रतिको जालझेल र बेइमानी’ हुने उल्लेख गर्दै सर्वोच्चले स्थानीय तह प्राथमिकतामा हुनुपर्ने निर्णय गरेको थियो ।

गृह पृष्ठ

भर्ना हुँदा छात्र बढी, परीक्षा दिँदा छात्रा

- मकर श्रेष्ठ

काठमाडौं– कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ देखि हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ४३ विद्यार्थी सहभागी हुँदै छन् । तीमध्ये छात्र २ लाख ३० हजार ८ सय ८० र छात्रा २ लाख ३३ हजार ८ सय ६३ जना छन् ।
पछिल्लो तीन वर्षयता १० कक्षाको अन्तिम परीक्षा दिनेमा छात्रको तुलनामा छात्राको संख्या बढी छ । ‘सरकारले छात्रामा गरेको लगानीको प्रतिफल देखिन थालेको छ,’ शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले भने । सरकारले प्रत्येक छात्रालाई छात्रवृत्ति दिइरहेको छ । छात्रामैत्री शौचालय व्यवस्थाको अभियान नै चलेको छ ।

०६४ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष १० कक्षाको परीक्षा दिन लागेका हुन् । शिक्षा विभागका अनुसार त्यस वर्ष कक्षा १ मा १३ लाख ३४ हजार १ सय ९४ जना भर्ना भएका थिए । भर्ना भएकामध्ये ८ लाख ६९ हजार विद्यार्थी कक्षा १० सम्म पनि आइपुगेनन् । १ कक्षामा भर्ना भएकामध्ये ३५ प्रतिशत विद्यार्थी मात्रै १० कक्षामा परीक्षाको तयारीमा छन् ।

‘यसअघि कक्षा १ मा भर्ना भएकामध्ये १२ देखि १५ प्रतिशत मात्रै १० कक्षासम्म आइपुग्थे । यसपालि ३५ प्रतिशत आउनु सकारात्मक हो,’ पौडेलले भने । भर्ना भएकामा ६ लाख ५१ हजार ८ सय ७२ छात्रा र ६ लाख ८२ हजार ३ सय २३ छात्र थिए । यसअनुसार छात्राभन्दा ३० हजार बढी छात्र थिए । परीक्षा दिनेमा छात्रभन्दा ३ हजार बढी छात्रा छन् । यो तथ्यले छात्राको तुलनामा छात्रको ड्रप आउट (पढ्न छाड्ने) बढी हुने गरेको देखाउँछ ।
यसपालिको एसईईको आंशिक (एक्जाम्टेड) तर्फ १८ हजार ९ सय ९ मध्ये ११ हजार ५ सय छात्रा छन् । गत वर्षको ग्रेडिङको नतिजामा विषयगत ‘डी’ भन्दा तल्लो ग्रेड ल्याएका विद्यार्थीले पनि यस वर्ष ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । ५० हजार ८ सय २७ जनाले ग्रेड वृद्धिको परीक्षा दिने भएका छन् । ग्रेड वृद्धिको परीक्षा दिने तयारीमा १९ हजार २ सय ८५ छात्र छन् भने ३१ हजार ५ सय ४२ छात्रा छन् । नियमित, आंशिक र ग्रेड वृद्धि परीक्षा दिने ५ लाख ३४ हजार ४ सय ७९ जना छन् । त्यसमा छात्र २ लाख ५७ हजार ४ सय ९१ जना छन् भने छात्रा १९ हजार चार सय ९७ ले बढी अर्थात् २ लाख ७६ हजार ९ सय ८८ जना छन् ।

१० कक्षाको परीक्षा दिनेमा गत वर्षको भन्दा यस वर्ष ५३ हजार विद्यार्थी घटेका छन् । अघिल्लो वर्ष ५ लाख ८८ हजार १ सय ५२ विद्यार्थीले परीक्षा दिएका थिए । विद्यार्थी संख्या घटेपछि परीक्षा केन्द्र पनि गत वर्षभन्दा २० वटा कम तोकिएको छ । गत वर्ष १ हजार ९ सय ४३ परीक्षा केन्द्र भएकामा यसपालि १ हजार ९ सय २३ मात्रै केन्द्र कायम गरिएको छ ।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीले परीक्षाको केन्द्रीयस्तरबाट गर्नुपर्ने सबै काम सकिएको बताए । ‘प्रश्नपत्र र उत्तरपुस्तिका उपत्यकाबाहेक अन्य सबै जिल्लामा पुगिसक्यो,’ उनले भने, ‘अब जिल्लास्तरबाट गर्नुपर्ने काममात्रै बाँकी छ ।’ शिक्षाविद् प्रा.मनप्रसाद वाग्लेले कक्षा १ मा भर्ना हुँदा छात्राको संख्या कम भए पनि त्यही विद्यार्थी १० कक्षाको परीक्षा दिँदा बढी हुनुको कारण छात्रहरू बीचैमा पढाइ छाडेर कामको खोजीमा लागेको हुन सक्ने बताए । ‘शिक्षा विभागको फ्लास रिपोर्टमा गल्ती भएर पनि हुन सक्छ,’ उनले भने, ‘अर्को कारण स्कुल पढ्दापढ्दै कामको खोजीमा स्वदेश र विदेश जाने हुनाले केटाको संख्या घटेको हुन सक्छ ।’

Page 2
समाचार

सत्य निरूपण आयोगमा बैठक बस्नै छाड्यो

- बालकृष्ण बस्नेत

काठमाडौं– द्वन्द्वकालीन घटना छानबिनका लागि गठित सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद थप भए पनि काम भने रोकिएको छ । गत माघ २७ गते सरकारले एक वर्ष म्याद थप गरे पनि अध्यक्ष सूर्यकिरण गुरुङ स्वयं आयोगमा अनुपस्थित छन् । अन्य केही सदस्यबीच विवादका कारण आयोगको दैनिक कामसमेत रोकिएको छ ।

अध्यक्ष नै अनुपस्थित भई काम प्रभावित भएपछि नियमित बैठक बोलाउन लिखित निवेदन नै परेको छ । आयोगकी सदस्य माधवी भट्टले आयोगमा उपस्थित भई बैठक गराउन गुरुङका नाममा लिखित पत्र नै पठाएकी हुन् । ‘आयोगको औचित्य देखेर सरकारले म्याद त थप गरिदियो तर काम भने केही अघि बढेन,’ सदस्य भट्टले कान्तिपुरसँग भनिन्, ‘अध्यक्षकै हाजिरी नदेखेपछि मैले लिखित आग्रह गरेकी हुँ ।’ विस्तृत छानबिन गरी दोषीलाई कानुनी कारबाहीका लागि मुद्दा चलाउन सिफारिस गर्नुपर्ने अख्तियारी पाए पनि आयोगमा उजुरी ग्रहण गर्नेबाहेक ठोस काम देखिएका छैनन् । यसबीचमा सत्य निरूपण आयोगमा हत्या, हिंसा जोडिएका ५८ हजार ५२ उजुरी परेका छन् । सुरुका २ वर्षमा आयोगले उजुरी संकलन गर्नेबाहेक अन्य काम भएको छैन ।

आयोगले म्याद थपका लागि सिफारिस गर्दा अनुसन्धानको काम तत्कालै अघि बढाउने उल्लेख गरेको थियो । साथै ७ वटै प्रदेशमा मुकाम खडा गरी टोली खटिने बताएको थियो । सरकारले त्यसका लागि पर्याप्त बजेट उपलब्ध गराए पनि काम भने भएको छैन । स्रोतका अनुसार आयोग पदाधिकारीबीच मनमुटावले काम रोकिएको हो । आयोगमा अध्यक्ष गुरुङ र सदस्यहरू भट्ट, लीला उदासी, श्रीकृष्ण सुवेदी र मञ्चला झा छन् । गुरुङले माओवादीको कोटाबाट सदस्य बनेका सुवेदीको पक्ष लिई आफूहरूको सुनुवाइ नगरेको दाबी भट्टको छ । ‘केही समय सरकारको कारण ढिलो भयो । पछि पदाधिकारीबीचमै झगडा सुरु भयो,’ आयोगका एक कर्मचारीले भने, ‘पीडितबारे अध्ययन, अनुसन्धान र छानबिन गर्ने अख्तियारी पाएकाहरू नै झगडा गरेर बसेका छन् ।’

अध्यक्ष गुरुङलाई दिइएको पत्रमा आयोगमा परेका उजुरीको कारबाही के कसरी अघि बढाउने, प्रदेश कार्यालयको कर्मचारी संरचना कस्तो हुने, प्रदेश तहमै कस्तो प्रकृतिका उजुरी छानबिन गर्ने, विचाराधीन परिपूरणसम्बन्धी कार्यविधिलाई कसरी अघि बढाउने, विज्ञहरूको सूची तयार गर्ने लगायतमा काम गर्न ढिलो भइसकेको उल्लेख छ । अनुपस्थितिबारे प्रतिक्रिया लिन खोज्दा अध्यक्ष गुरुङ सम्पर्कमा आएनन् । अध्यक्षको अनुपस्थितिमा वरिष्ठ सदस्यले बैठक बोलाउन सक्ने प्रावधानसमेत कार्यान्वयन हुन सकेको छैन । आयोगमा द्वन्द्वकालीन कुन घटनाको अनुसन्धान कहिले गर्ने भन्ने विषयमा सुरुमै मतभेद देखिएको थियो । केही सदस्यले चितवनको बाँदरमुँढे घटनाका पीडितले दिएको उजुरी अध्ययनका लागि जानुपर्ने सुझाव दिएका थिए । तर, सुवेदीले त्यसमा असहमति राखेका थिए । पछि अध्यक्ष गुरुङले पनि सुवेदीकै पक्ष लिएका थिए । उता, सदस्य भट्टले आयोगका गतिविधि सार्वजनिक गरेको भन्दै गुरुङ असन्तुष्ट बनेका थिए । यो विवाद प्रधानमन्त्री पुष्पकमल दाहालकहाँ समेत पुगेको थियो ।

समाचार

‘प्रस्तावित राजदूतमाथि छानबिन हुनुपर्छ’

- कान्तिपुर संवाददाता

काठमाडौँ – सत्तारूढ कांग्रेसका नेता शेखर कोइरालाले राजदूत तथा अन्य संवैधानिक नियुक्तिमा सरकारले दलगत र विभागीय मन्त्रीहरूको स्वार्थमा परी सम्बन्धित विषयमा संवेदनशील नभई गरेका गलत कार्यलाई संसदीय सुनुवाइ समितिले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य कोइरालाले सुनुवाइ समितिले सरकारद्वारा राजदूतमा प्रस्तावित व्यक्तिहरूको कडाइका साथ छानबिन गर्दै सुनुवाइ गर्नुपर्नेमा जोड दिएका छन् । ‘सरकारले गरेका गलत कार्यहरूको सुनुवाइ समितिले चेक एन्ड ब्यालेन्स गर्न सक्नुपर्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । सरकारले विज्ञताको आधारमा नभई राजनीतिक दलका नेताहरूले आफ्नो स्वार्थको आधारमा नातेदार र व्यवसायमा रहेका व्यक्तिलाई व्यावसायिक स्वार्थ बाझिने गरी राजदूतमा सिफारिस गरेको उनको टिप्पणी छ ।

‘देशको अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादनको लगभग ३० प्रतिशत हिस्सा ओगटेको वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित बनाई युवालाई सस्तो र सुलभ तरिकाले विदेश पठाउने वातावरण सिर्जना गर्न आवश्यक छ,’ कोइरालाले लेखेका छन्, ‘तर सरकारले त्यही व्यवसायमा लागेकाहरूलाई त्यही मुलुकमा राजदूत बनाएर पठाउन गरेको सिफारिस दुर्भाग्यपूर्ण छ । राज्यको अदूरदर्शिता र गलत व्यक्तिको सीमित स्वार्थले यो क्षेत्र अस्तव्यस्त हुन पुगेको हो ।’

म्यानपावर कम्पनीसँग साँठगाँठ गर्ने रमेश पूर्वश्रम राज्यमन्त्री तथा म्यानपावर व्यवसायी टेकबहादुर गुरुङका सल्लाहकार समेत थिए ।
कोइरालाले म्यानपावर व्यवसायमा बदनाम भइरहेका व्यक्तिलाई सरकारले व्यावसायिक स्वार्थ भएको मुलुकमा राजदूत सिफारिस गर्नुमा स्पष्ट स्वार्थ देखिने उल्लेख गरे । ‘एकातिर राजदूतको मापदण्ड नबनाइनु र अर्कोतर्फ परराष्ट्र मन्त्रालयलाई छायामा राखेर मनोमानी ढंगले राजदूतको नाम सिफारिस गरिनु राष्ट्रकै निम्ति दूर्भाग्य हो,’ उनले भने ।

समाचार

राप्रपामा चिह्न विवाद

- कान्तिपुर संवाददाता

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न गाई कि हलो भन्नेमा तीव्र बहस सुरु भएको छ । बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले चनाव चिह्न गाई हुनुपर्ने अडान राखेका छन् । केही वरिष्ठ नेताले भने हलो हुनुपर्ने तर्क गरे ।

दुईतर्फी बहस जारी हुँदा बैठक शुक्रबार पुन: बस्ने गरी स्थगित भएको छ । चुनाव चिह्न हलो भएको राप्रपा र गाई चिह्न बोकेको राप्रपा नेपाल एकीकृत भई एउटै पार्टी बने पनि यसबारे टुंगो लाग्न सकेको थिएन । फागुन पहिलो साता सम्पन्न पार्टी महाधिवेशनले समेत चुनाव चिह्नलाई पछि टुंगो लगाउने निर्णय गरेको थियो । १ सय ६३ केन्द्रीय सदस्यमा बिहीबार ४० जनाले धारणा राखेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।

Page 3
समाचार

स्ववियुमा मिश्रित परिणाम

- कान्तिपुर संवाददाता

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा तीन प्रमुख विद्यार्थी संगठनले मिश्रित परिणाम प्राप्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयका २१ आंगिक क्याम्पस र अन्य सम्बन्धन तथा नेपाल संस्कृत विश्वविद्यालयका केही आंगिक क्याम्पस गरी करिब२ सय ३० क्याम्पसमा बुधबार स्ववियु चुनाव सम्पन्न भएको थियो । विद्यार्थी संगठनहरूको दाबी अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले १ सय ५ क्याम्पसमा स्ववियु सभापतिलगायत पदमा विजय पाएको छ । त्यसैगरी अनेरास्ववियुले १ सय १ स्थानमा सभापतिलगायत पदमा जित हासिल गरेको जनाएको छ । माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले ७३ वटा क्याम्पसमा सभापतिलगायत स्थान विजय पाएको दाबी गरेको छ । स्ववियु चुनाव सम्पन्न क्याम्पस संख्याअनुसार विद्यार्थी संगठनको दाबी मिलेको छैन । संगठनहरूले एक–अर्कालाई संख्या बढाएर दाबी गरेको आरोप पनि लगाएका छन् । त्रिवि शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीले क्याम्पस प्रशासनले स्ववियु चुनाव सम्पन्न गराएकाले नतिजा आउन ढिलो हुने बताइन् । ‘एकाध क्याम्पसमा प्राविधिक कारणले स्ववियु चुनाव भोलि (शुक्रबार) मात्र हुन्छ । त्यसैले सबैतिरको नतिजा आउन समय लाग्छ,’ उनले भनिन् ।

यसअघि २०६५ सालमा स्ववियु चुनाव भएको हो । त्रिविले यस वर्ष मिश्रित प्रणाली र समावेशी नीतिअनुसार चुनाव गराएको हो । देशभरिका ६० आंगिकमध्ये २१ वटा क्याम्पसमा मात्र स्ववियु चुनाव भएको जनाइएको छ । विद्यार्थी संगठनले आफ्नो पकड गुमाउन सक्ने क्याम्पसमा अवरोध पुर्‍याएर चुनावी प्रक्रिया रोकेका थिए । राजधानीका शंकरदेव, आरआर, पिपल्स क्याम्पस र अन्य केही क्याम्पसमा विद्यार्थी संगठनहरूको सहमतिमा फागुन २३ गतेभित्र चुनाव गराउनुपर्ने नेविसंघका महामन्त्री सरोज थापाले बताए । ‘हामी विद्यार्थी संगठन सहमति गर्न तयार छौं, त्रिविले हाम्रो माग सुन्न जरुरी छ,’ उनले भने ।

यसैबीच भक्तपुरका दुई क्याम्पसको मतपरिणाम सार्वजनिक भएको छ । भक्तपुर बहुमुखी क्याम्पसमा दिनेश खड्गी नेतृत्वको नेक्राविसंघ र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ । यस्तै सानोठिमी क्याम्पसमा रमेश खड्काको नेतृत्वमा अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ ।

समाचार

मतदानमा लगे संशोधन फेल : प्रधानमन्त्री

- कान्तिपुर संवाददाता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा पेस गरिएको संविधान संशोधन विधेयकमा अहिलेको अवस्थामा मतदान भए प्रस्ताव फेल हुने बताएका छन् ।

‘संशोधन विधेयक मतदानमा गयो भने विपक्षमै मतदान गर्ने राप्रपाका साथीहरूको प्रस्ट कुरा छ,’ प्रधानमन्त्रीले भने, ‘यति कुरा जान्दाजान्दै मतदानमा जाँदा संशोधन प्रस्ताव पारित हुँदैन, फेल हुन्छ । त्यसले समस्या समाधान होइन, झन् बल्झाउँछ ।’

बालुवाटरमा बिहीबार आदिवासी जनजाति महासंघसहितको टोलीसँग प्रधानमन्त्री दाहालले विधेयकबारे अलि समय लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुने धारणा राखेका हुन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज नगर्न ध्यानाकर्षण पत्र बुझाउन पुगेको टोलीलाई उनले प्रतिष्ठान खारेज नहुने प्रतिबद्धता पनि व्यक्त गरे । ‘मैले त प्रतिष्ठान हटाउने कुरो सुनेको थिइनँ, कसले खारेज गर्न लागेको छ ? कहाँबाट खारेज हुन लाग्यो ? मलाई थाहा छैन,’ उनले भने, ‘प्रतिष्ठान खारेज हुन लागेको हो भने म त्यसलाई रोकिदिन्छु ।’

महासंघ र विभिन्न जातीय घटक संगठनसहितको टोलीले आदिवासी जनजाति मन्त्रालय स्थापना गर्नुपर्ने, आदिवासी जनजातिहरूको पहिचान र अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्नुपर्ने लगायत ५ बुँदे ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएको थियो । आदिवासी जनजातिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन १६९ र राष्ट्रसंघीय घोषणा पत्र २००७ मा उल्लेखित आदिवासी जनजाति अधिकार सुनिश्चित हुने गरी अविलम्ब संविधान संशोधन गर्न पनि माग गरिएको छ । महासंघले बिहीबार राजधानीमा मोटरसाइकल र्‍याली प्रदर्शन गर्दै कांग्रेस, एमाले र माओवादी केन्द्रका केन्द्रीय कार्यालयमा पनि ध्यानाकर्षण पत्र बुझाएको छ ।

समाचार

‘बहिष्कार गर्छौं, अवरोध गर्दैनौं’

- कान्तिपुर संवाददाता

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले स्थानीय चुनावको औचित्य नरहेको भन्दै बहिष्कार गर्ने निर्णय गरेको छ । रोल्पामा फागुन पहिलो साता सकिएको आठौं महाधिवेशनका निर्णय सार्वजनिक गर्न राजधानीमा पहिलोपल्ट बिहीबार पत्रकार सम्मेलन गर्दै महासचिव चन्दले यस्तो घोषणा गरेका हुन् । उनले निर्वाचनको सक्रिय बहिष्कार गरे पनि मतदानलगायत निर्वाचन कार्यक्रममा अवरोध नगर्ने बताए । दोस्रो संविधानसभा चुनाव अवरोध गर्न हिँडेको यो माओवादी घटकले यसपल्ट भने नरम नीति अख्तियार गरेको हो ।

‘निर्वाचन जसरी पनि गरिछाड्छु भन्दै प्रधानमन्त्रीले बोलेको भाषा निरंकुश, तानाशाही र फाँसीवादी छ, हामी शासकहरूलाई निरंकुश नबन्न आग्रह गर्छौं,’ महासचिव चन्दले भने, ‘अतिवादीलाई परास्त गर्छौं भन्ने उहाँको अभिव्यक्ति पनि सही छैन । ०५४, ०५६ र शाहीकालका चुनावहरू ध्वस्त गर्न लगाउने प्रचण्ड आफंै त्यही बाटोबाट आएकाले उहाँको पनि हालत त्यही हुन सक्छ ।’ उनले चुनावको औचित्य नभएको भन्दै स्थानीय चुनावलाई आफ्नो दलले मान्यता नदिने बताए । चन्द नेतृत्वको नेकपाले यसभन्दा अघिल्लो नाम नेकपा (माओवादी) लाई फागुन ५ देखि १० सम्म रोल्पा थबाङको महाधिवेशन बन्दसत्रबाट हटाउँदै नेकपा मात्रै राख्ने निर्णय गरेको थियो ।

चन्दले विभिन्न आरोप लगाई आफ्ना कार्यकर्ता बन्दी बनाइएको भन्दै उनीहरूको रिहाइका लागि माग गर्ने महाधिवेशन निर्णय सुनाए । उनले २१ वर्षअघि नेकपा माओवादीकै शैली अनुकरण गर्दै महाधिवेशन निर्णयहरू सुनाए । जसमा सन् १९५० लगायतका सम्पूर्ण असमान सन्धि सम्झौता खारेज गर्ने, नेपाली युवायुवतीलाई विदेशमा बेच्ने मानव तस्करविरुद्ध संघर्ष गर्ने, दलाल, तस्कर र भ्रष्टाचारीलाई निमिट्यान्न पार्ने जस्ता निर्णय छन् । उनले क्रान्तिकारी, देशभक्त र जनवादी शक्तिहरूलाई ध्रुवीकृत र एकीकृत गर्दै राष्ट्रलाई नयाँ दिशामा लैजाने ठहर महाधिवेशनले गरेको सुनाए । पार्टीको प्रेस वक्तव्य खडगबहादुर विश्वकर्माले पढेर सुनाएका थिए ।नेकपाले महाधिवेशनबाट ६३ सदस्यीय केन्द्रीय समिति चुनिएको घोषणा गरे पनि नामावली भने सार्वजनिक गरेको छैन । संगठन संरचनालाई अर्धभूमिगत राख्ने नीति अख्तियार गरेको यसका नेताहरूले बताएका छन् ।

समाचार

प्रतिकारमा उत्रन ठाकुरको निर्देशन

- कान्तिपुर संवाददाता

काठमाडौं– तमलोपा अध्यक्ष महन्थ ठाकुरले पार्टीका सांसद, केन्द्रीय समिति सदस्य र अगुवा कार्यकर्तालाई विकसित राजनीतिक घटनाक्रमबारे जानकारी दिलाउँदै चुनावको प्रतिकार गर्नका लागि जिल्ला फर्कन निर्देशन दिएका छन् । बिहीबार बिजुलीबजारमा आयोजित दुई छुट्टाछुट्टै भेलामा उनले संविधान संशोधन नभएसम्म चुनाव स्विकार्न नसकिने उल्लेख गर्दै त्यस्तो निर्देशन दिएका हुन् ।

‘सरकारले लिएको नीति मुठभेडतर्फ उन्मुख छ भन्ने बुधबारको बालुवाटार वार्ताले पनि देखायो, अब परिस्थिति चुनौतीपूर्ण बनेर गएको छ,’ ठाकुरले भेलामा भने, ‘तपाईंहरू तुरुन्तै आ–आफ्नो जिल्लामा फर्केर मुकाबिलाको तयारी गर्नुहोस् ।’

एमालेले शनिबारदेखि मधेसकेन्द्रित अभियान चलाउने घोषणा गरेको भन्दै ठाकुरले त्यस दलका नेताहरूले अभियान थाल्नुअघि नै मधेसीविरुद्ध धम्कीपूर्ण भाषा बोल्नु आश्चर्यजनक रहेको टिप्पणी गरेका थिए । ‘उहाँहरूले किन अभियान सुरु नहुँदै मधेसी समुदायलाई लक्षित गर्दै धम्कीपूर्ण भाषा बोल्नुभयो, मैले बुझेको छैन,’ ठाकुरले थपे, ‘बन्दुकको बलमा एजेन्डाहरू दबाउन खोजिँदै छ । स्थानीय चुनावमा स्वयंसेवक र कर्मचारी खटाउने हो । सेना किन आवश्यक पर्‍यो ?’

ठाकुरले संविधान संशोधन नहुन्जेल चुनावमा जान नसकिने, निर्वाचन आयोगमा दल दर्तासमेत नगर्ने बताए । मधेसी मोर्चामा आबद्ध ७ मधेसवादी दलमध्ये संघीय समाजवादी फोरमले मात्रै आयोगमा दल दर्ता गरेको छ । यसैगरी सद्भावना अध्यक्ष राजेन्द्र महतोले पनि बिहीबारै लाखेचउरस्थित पार्टी कार्यालयमा अगुवा कार्यकर्ता र नेताको भेला गर्दै विकसित घटनाक्रमबारे समीक्षा गरेका थिए । उनले आन्दोलनमा फेरि जान आवश्यक रहेको बताएको स्रोतले जानकारी दियो । महतोले भने पार्टी महाधिवेशनबारे छलफल भएको प्रस्टीकरण दिए ।

Page 4
समाचार

‘स्थायित्वका लागि चुनाव’

काठमाडौं (कास)– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन गर्दै राजनीतिक स्थायित्वतर्फ मुलुकलाई अघि बढाउन आवधिक चुनाव जरुरी हुने बताएकी छिन्। नारी दिवसका अवसरमा बुधबार शीतलनिवासमा आयोजित चियापान कार्यक्रममा उनले चुनावमार्फतै महिला हक–अधिकार स्थापित गराउन सकिने बताइन्। भण्डारीले सहमति, सहकार्य र
सद्भाव कायम राख्नुपर्नेमा जोड दिएकी थिइन्। चियापानमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्तीलगायत थिए। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, अन्य दलका शीर्ष नेताहरूलाई निम्ताइएको भए पनि राजनीतिक व्यस्तताका कारण सहभागी भएका थिएनन्।

समाचार

जीवन रक्ष पहल गर्न कार्यदल विदेशमा मृत्युदण्ड फैसला

- होम कार्की

काठमाडौं– खाडी र मलेसियामा रहेका नेपाली दूतावासले मृत्युदण्ड र जन्मकैदको सजाय सुनाइएका नेपाली कामदारको जीवन रक्षाका लागि आधिकारिक विवरण सरकारलाई उपलब्ध गराएको छ। खाडीका पाँच देश तथा मलेसियाका केन्द्रीय जेलमा मृत्युदण्डको सजाय पाएका ३३ र जन्मकैदका २२ जना नेपाली छन्।

सरकारले विदेशमा मृत्युदण्ड र जन्मकैदको सजाय पाएका नेपाली नागरिकको जीवन रक्षा गर्न र स्वदेश ल्याउन पहल थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको बैठकमा उनीहरूका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा छलफल केन्द्रित भएको थियो। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषिराज अधिकारीले कार्ययोजना बनाउन पाँच सदस्यीय उच्चस्तरीय कार्यदल गठन भएको जानकारी दिए।

‘मृत्युदण्ड र जन्मकैद पाएका नेपालीका विषयमा सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनेको छ,’ अधिकारीले कान्तिपुरलाई भने, ‘कार्यदललाई यो विषयसहित वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सात दिनभित्र प्रस्ताव पेस गर्न निर्देशन दिइएको छ।’

कार्यदलमा गृह, अर्थ, परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव छन्। कार्यदलले पेस गर्ने कार्ययोजनाअनुसार सरकारले कामलाई अगाडि बढाउनेछ।

हत्या र लागू औषधजस्ता संवेदनशील अपराधमा जोडिएका नेपालीलाई सम्बन्धित देशको अदालतले मृत्युदण्ड र जन्मकैदको सजाय सुनाएको दूतावासहरूले जनाएका छन्। ‘जसलाई ब्लडमनि दिएर उद्धार गर्न मिल्छ, तिनका लागि ब्लडमनि दिने र ब्लडमनि दिन नमिल्ने मुद्दामा ती देशका प्रधानमन्त्री र राष्ट्रपतिका तर्फबाट माफी दिन सम्बन्धित मुलुकलाई पत्र लेख्ने विषयमा छलफल भएको थियो,’ बैठकमा सहभागी श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले भने, ‘यसमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ।’

बैठकमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ब्लडमनि दिएर जेलबाट छुटाई नेपाल ल्याउन झन्डै २५ करोड रुपैयाँ लाग्ने जानकारी गराएको थियो। बोर्डले कल्याणकारी कोषमा अर्बौंको रकम भए पनि कार्यविधिका कारण खर्च गर्न नसकेर विदेशी जेलमा रहेका कामदारलाई नेपाल ल्याउन समस्या रहेको जनाएको थियो।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका समस्यालाई गम्भीर रूपमा लिन विशेष निर्देशन दिएका छन्। ‘यो सामान्य विषय हुँदै होइन। हामीले विदेशमा भएका नेपाली कामदारका बारेमा गम्भीर भएर सोच्नुपर्छ। उनीहरूको स्थिति धेरै दर्दनाक छ। कार्यदलले असाध्यै जिम्मेवार र गम्भीर भएर गृहकार्य गरोस्,’ प्रधानमन्त्रीले निर्देशन दिने क्रममा भनेका थिए ।

समाचार

सञ्चालकलाई उन्मुक्ति, कर्मचारीलाई मुद्दा

औषधिको रसायन तस्करी प्रकरण
- कृष्ण ज्ञवाली,जनकराज सापकोटा

काठमाडौं– औषधि निर्माणका नाममा खरिद भएको ‘स्युडोइफिड्रिन’ नामक रसायन लागूऔषधका रूपमा दुरुपयोग भएको मुद्दामा तीन जिल्लाका सरकारी वकिलहरूको भूमिका शंकास्पद देखिएको छ। प्राप्त प्रमाण र घटनाको वस्तुपरक विश्लेषण नगरी उनीहरूले सञ्चालकहरूलाई औषधि उत्पादनमा संग्लन कर्मचारीलाई मात्रै मुद्दा चलाएको भेटिएको हो। काठमाडौं र धादिङका सरकारी वकिल कार्यालयका प्रमुखहरूमाथि महान्यायाधिवक्ता कार्यालयले कारबाही प्रक्रिया सुरु गरिसकेको छ। यस्तै प्रकृतिको मुद्दामा ललितपुरका प्रमुखमाथि भने छानबिन चलिरहेको छ।

‘काठमाडौंको सरकारी वकिल कार्यालयमा गम्भीर ढंगले अनियमितता भएको भेटियो,’ एक सहन्यायाधिवक्ताले कान्तिपुरसित भने, ‘कल्पनै गर्न नसक्ने गरी फितलो बनाएर मुद्दा दायर गरिएको छ।’ घटनाका अन्य परिस्थितिजन्य विवरण र गतिविधिले मुद्दा दायर गर्ने क्रममा मिलेमतो भेटिएको उनले बताए। काठमाडौं सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख डा. टेकबहादुर घिमिरे, धादिङका प्रमुख दयाशंकर अधिकारी र ललितपुरका प्रमुख ईश्वरीप्रसाद बञ्जाडे लागूऔषध मुद्दा फितलो बनाउने खेलमा जोडिएका हुन्।

मुद्दा चलाउँदै चलखेल
लागूऔषध नियन्त्रण ब्युरोले औषधि बनाउने केमिकल अर्थात् ‘प्रि–क्रसर केमिकल्स’ को आवश्यकताभन्दा धेरै भित्र्याउने र त्यसलाई लागूऔषधका रूपमा बेच्ने काममा संग्लन रहेको भन्दै सांघाई ग्रुपको सञ्चालनमा रहेको आर्या फर्मा ल्याबमाथि साउन दोस्रो साता कारबाही प्रक्रिया सुरु गरेको थियो।

नेपालका कम्पनीहरूले औषधि बनाउने प्रयोजनका लागि औषधि व्यवस्था विभागमा पत्र पठाई उसको सिफारिसका आधारमा गृह मन्त्रालयको लागूऔषध शाखाबाट स्वीकृति लिई त्यस्ता मनोद्दीपक रसायन आयात गर्न पाइन्छ। त्यसको दुरुपयोग हुने आशंका भएकाले औषधि व्यवस्था विभागले ‘मनोद्दीपक’ रसायनको परिमाण र त्यसबाट उत्पादित औषधिको अभिलेख राख्नुपर्ने व्यवस्था गरेको थियो।
उजुरीका आधारमा प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले एसआर ड्रगमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा गृह मन्त्रालय र औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०६९/७० देखि २०७२/७३ सम्म २११० किलोग्राम ‘स्युडोइफिड्रिन’ खरिद गरेको पुष्टि गरे। एसआर ड्रग कम्पनीले १६ सय ६२ किलो ८० ग्राम ‘स्युडोइफिड्रिन’ औषधि नबनाई अन्यत्र पठाएको भेटियो। त्यस क्रममा रसायन औषधि निर्माणकै क्रममा खपत भएको देखाउन बीएमआर (ब्याच मेनुफेक्चरिङ रेकर्ड) समेत नक्कली बनाइएको अनुसन्धान र संलग्नहरूको बयानबाट खुलेको छ।

औषधि बरामदका घटनामा एसआर ड्रगका सेयरवाला अमिल गुप्ता अग्रवाल, मधुसूदन अग्रवाल, सञ्जय अग्रवाल र अशोक गुप्ता अग्रवाल, श्रुति अग्रवाल, अक्षय अग्रवाल, आशिष अग्रवाल सञ्चालक थिए। उनीहरूमध्ये लागूऔषध कारोबारमा संलग्न व्यक्तिमाथि प्रमाण जुटाउने र मुद्दा चलाउने क्रममै सरकारी वकिलको कार्यालयमा चलखेल भएको महान्यायाधिवक्ता कार्यालय स्रोतले बतायो।

विवादमा घिमिरे
आफ्नो मातहतका उपन्यायाधिवक्ताले हेरिरहेको फाइल मागेर अभियोगपत्र तयार गर्न जुटेका सरकारी वकिल कार्यालय प्रमुख डा. घिमिरेले सम्पूर्ण आरोप फर्माका सञ्चालक सञ्जयकुमार गुप्ता र वित्त प्रबन्धकमाथि केन्द्रित गरे र अरू आरोपितलाई उन्मुक्ति दिए। ‘घटनाको प्रमाण, बयान र अन्य तथ्यले दुई जनाको मिलेमतोमा मात्रै लागूऔषध दुरुपयोग गर्न सम्भव छैन भन्ने देखाउँछ,’ महान्याायधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘तर घिमिरेले भएभरको दोष दुई जनालाई थोपरेर अरूलाई उन्मुक्ति दिन चाहे।’

स्रोतका अनुसार एसआरका स्टोर इन्चार्ज वसन्तकुमार शर्माले खडानन्द शर्मामाथि आरोप लगाउँदै रजिस्टर आफूले च्यातेको बताएका छन्। त्यस्तै प्रडक्सन डिपार्ट एक्जेक्युटिभ सकुन श्रेष्ठ, चन्दा लक्ष्मी महर्जन लगायतले खडानन्दको नामै जोडेका छन्। क्वालिटी अफिसर गीता सुवेदी तामाङले नक्कली कागजात आफूले नै तयार पारेको बताउँदै त्यस किसिमको औषधि उत्पादन नभएको र स्टोर इन्चार्ज वसन्त पोखरेल र खडानन्द शर्माले भने बमोजिम आफूले कागजात तयार पारेको बताइन्। यी आधार देखाई सरकारी वकिलले सहजताका साथ खडानन्दमाथि अभियोग लगाए।

बयानकै क्रममा फर्माको प्रशासनका रामकुमार कार्कीले अनुसन्धान र छानबिन सुरु भएपछि कारखानामा कार्यरत हरिशंकर शर्मा गयल भएको बताए। कारखानामा कार्यरत नीतेश बिजुक्छेले खडानन्दको हवाला दिई ‘साहुले तयार गरी पठाउनुभएको छ, त्यसमा चेक गरी छुट भएका विवरण भर्नुपर्ने छ भनी मलाईसमेत भर्न लगाएकाले भर्ने काम गरेको हुँ’ भनी बयान दिएका छन्।
प्रमाणका रूपमा समावेश हुनुपर्ने यी तथ्य भने अभियोगपत्रमा छुटेका छन्। सञ्चालक सदस्यसमेत रहेकी श्रुति अग्रवालले आफ्ना पति अमित अग्रवाल समेत कारखानामा प्रत्यक्ष संलग्न रहेको बताइन्। उनले भनिन्, ‘प्रालिको सञ्चालक मेरो श्रीमान् अमित अग्रवालसमेत हुनुहुन्छ। प्रालिको सम्पूर्ण काम उहाँले गर्नुहुन्छ। अरू मलाई जानकारी छैन।’

शंकास्पद भाषाशैली प्रयोग गरी सहन्यायाधिवक्ता घिमिरेले दुईबाहेकका हकमा देखिएको प्रमाणलाई बेवास्ता गरेका छन्। ‘अमित गुप्ताले प्रबन्धक निर्देशक र मधुसूदन अग्रवाल सञ्चालक समिति अध्यक्षका रूपमा काम गरेको भन्ने पक्राउ प्रतिवादी खडानन्द शर्माको मौकाको बयानमा खुली आएको भए पनि,’ अभियोग खण्डमा उनले लेखेका छन्, ‘मौकामा बुझिएका व्यक्तिहरूको एकै मिलानको कागज व्यहोरा, प्रतिवादी खडानन्द शर्माले स्पष्ट खुलाई लेखाइदिएको बयान व्यहोरासमेतबाट प्रतिवादी सञ्जयकुमार गुप्ता र खडानन्द शर्माबाहेकका अन्य सञ्चालक तथा सेयरधनीहरू उल्लेखित कसुरमा प्रत्यक्ष वा परोक्ष संलग्नता र सहभागिता रहेको तथ्यको स्पष्ट पुष्टि गर्ने अन्य कुनै स्वतन्त्र प्रमाणहरूको उपस्थिति विद्यमान देखिएन।’

जबकि घटनाको अनुसन्धानका क्रममा श्रुतिले आफ्नो पति पनि कम्पनीको नियमित कामकारबाहीमा सक्रिय रहेको स्विकारेकी छन् भने कारखानामा कार्यरत नीतेश बिजुक्छेले खडानन्दको हवाला दिई ‘साहुले तयार गरी पठाउनुभएको छ’ भनी आफूहरूले फर्जी कागजात तयार पारेको स्विकारेका छन्। यो पक्षलाई भने उनले प्रमाणका रूपमा उल्लेख नगर्नु त्रुटिपूर्ण भएको महान्यायाधिवक्ता कार्यालयको खोजबिनबाट पनि खुलिसकेको छ। कम्पनीमै कार्यरत रहेका हरिशंकर शर्मामाथि सहन्यायाधिवक्ता घिमिरेले ‘ठेगाना नखुलेको’ भनी अभियोग चलाउन नपर्ने निर्णय गरेका छन्। फरार भएकै कारण सहुलियत पाएका शर्मामाथि पछि पक्राउ परेपछि बयानका आधारमा पूरक अभियोग दायर गर्ने भनी सरकारी वकिलको निर्णय छ। प्रहरीले उक्त घटनामा संगठित अपराधको अभियोगमा समेत मुद्दा चलाउन राय दिएको थियो। तर सरकारले वकिलको कार्यालयले त्यसतर्फ समेत कुनै उल्लेख गरेको छैन।

प्रतिग्राम २८ दशमलव ९ डलर पर्ने ‘स्युडोइफिड्रिन’ घोटाला प्रकरणमा अवैध रूपमा गायब भएको परिमाण हेर्दा ४ करोड ५५ लाख २८ हजार अमेरिकी डलर पर्छ। प्रचलित विनिमयअनुसार त्यसको नेपाली रुपैयाँ ५ अर्ब ८१ लाख ९ हजार ९ सय २० रुपैयाँ पर्छ। तर सरकारी वकिलको कार्यालयले एक रुपैयाँ पनि बिगो मागदाबी गरेको छैन। त्यसका साथै सहन्यायाधिवक्ता घिमिरेले अनुसन्धानका क्रममा बरामद भएका सामान पनि अस्वाभाविक रूपमा फिर्ता गर्न हतारिएको भेटिएको छ। अमित गुप्ता अग्रवाल र आशिष अग्रवालले ओसारपसारका लागि बा६च ८७५३ र बा१०च १६८६ नम्बरको गाडी प्रयोग गरेको भेटिएको थियो। आरोपपत्रमा भनिएको छ, ‘उल्लेखित सवारी साधनहरू (लागूऔषध) ओसारपसारमा प्रयोग भएकै थिए भन्ने वस्तुनिष्ठ प्रमाणहरूको उपस्थिति रहेको नपाइएको र अनुसन्धानको सिलसिलामा रोक्का राखिएको सम्पत्ति पनि लागू औषधकै कारोबारबाट आर्जित हो भन्ने मान्नुपर्ने अवस्था नरहेकाले कुनै मागदाबी लिएको छैन।’ जबकि ब्युरो टोलीले उक्त गाडीमा लागूऔषध ओसारपसार रहेको प्रमाण भेटेको थियो।


स्रोतअनुसार गत माघ १ गते नै महान्यायाधिवक्ता कार्यालयले केन्द्रमा सरुवा गरेका सहन्यायाधिवक्ता घिमिरे झन्डै एक महिनापछि मात्रै फिर्ता भएका थिए। माघ १२ गते प्रहरीले सरकारी वकिलको कार्यालयमा फाइल दर्ता गराएको थियो। फागुन १ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि भने घिमिरे त्यसको थुनछेक बहस गर्न पनि जरुरी नठानी महान्यायाधिवक्ता कार्यालयमा फिर्ता भए। ‘उनको दाउ नै त्यही लागूऔषधको मुद्दा थियो,’ स्रोतले भन्यो। केही महत्त्वपूर्ण र ठूलो बिगोको मुद्दा आए महान्यायाधिवक्तासँग समन्वय गर्न निर्देशन भए पनि उनले भने त्यसको अवज्ञा गरेको स्रोतले बतायो।

धादिङको धार्केमा पनि उही सञ्चालकहरूले टोरस नामक औषधि उत्पादक कम्पनीका लागि कारखाना सञ्चालन गरेका थिए। ब्युरोले धादिङ प्रहरीमार्फत मधुसूदनबाहेकका चार जनै टोरस कम्पनीमार्फत रसायन लागूऔषधका रूपमा प्रयोग गरेको आरोपमा मुद्दा चलाउन राय दियो। तर धादिङको सरकारी वकिल कार्यालयले चारमध्ये तीन जनालाई मात्रै मुद्दा चलायो। यो घटनामा भने धादिङका सरकारी वकिल कार्यालय प्रमुख उपन्यायाधिवक्ता दयाशंकर अधिकारी विवादमा परेका हुन्।

त्यसैगरी ललितपुरका सरकारी वकिल ईश्वरीप्रसाद बञ्जाडे पनि छानबिनमा परेका छन्। रतनलाल संघाई र मोहित हलानसहित आठ जनालाई प्रतिवादी बनाएको आर्या फर्मा ल्याबको लागूऔषध मुद्दामा शंकरलाल हलानका बारेमा उनले द्वैध अर्थ लाग्ने विवरण उल्लेख गरेका छन्। ‘शंकर हलानको प्रस्ट नामथर, ठेगाना, बाबु–बाजेको नामसमेत खुली नआएको हुँदा पछि यकिन खुलेका बखत पूरक अभियोगपत्र पेस गरिने’ आरोप पत्रमा भनिएको छ। तर आरोप पत्रकै अभियुक्तहरूको नाममा भने ‘दुगरमल हलानको नाति, शंकरलाल हलानको छोरा, पर्सा वीरगन्ज उपमहानगरपालिका १३ आदर्शनगर ठेगाना भएको आर्य फर्मा ल्याब प्रालिका डाइरेक्टर भनी नागरिकता नम्बरसहित मोहित हलान’ को विवरण उल्लेख छ।

समाचार

डा. घिमिरे निलम्बित

सरकारले काठमाडौं सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख डा. घिमिरेलाई निलम्बन गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ता कार्यालयको सिफारिसमा सहन्यायाधिवक्ता डा. घिमिरेलाई निलम्बन गरेको हो।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बैठकमा डा. घिमिरेलाई निलम्बन गर्ने प्रस्ताव राख्दा कानुनमन्त्री अजयशंकर नायकसहित कांग्रेसका केही मन्त्री विपक्षमा उभिएका थिए। उनीहरूले पार्टीका शीर्ष नेतासँग परामर्श गर्नुपर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन सम्पर्कसमेत गरेका थिए। त्यही विषयमा बैठकमा करिब आधा घण्टा विवाद भएको थियो। कानुनमन्त्री नायकले अडान कायमै राखे पनि प्रधानमन्त्री दाहालले लागूऔषध प्रकरणमा विभिन्न पक्षले आफूलाई मुछेको उल्लेख गर्दै कारबाही अघि नबढाए आफू बदनाम हुने बताएर निर्णय गराएका थिए। केही दिनअघि महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रधानमन्त्री दाहाललाई भेटेर आफूले महान्यायाधिवक्ताको कार्यालयमा संस्थागत सुधार गर्न खोजेको तर सरकार बाधक बनेको गुनासो गरेका थिए।

उपत्यका

छोएन मजदुर महिलालाई

अन्तर्राष्ट्रिय महिला दिवस
- लीला श्रेष्ठ

भक्तपुर– रामेछाप मन्थलीकी १५ वर्षीया जानुका मगराती चाँगुनारायण नगरपालिका झौखेलस्थित इँटाभट्टामा मजदुरी गर्छिन्। परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण कक्षा ६ मा अध्ययनरत जानुका विद्यालय छाडेर मजदुरी गर्न आएको बताउँछिन्। मुलुकभरका महिलाहरू बुधबार १०७औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा जानुकालाई दिवसबारे के थाहा। बुबा, दाइ र दिदीको आडमा कक्षा ६ को पढाइ थाती राखी मजदुरी गरिरहेकी उनलाई दिवसले प्रभाव पारेन।

मन्थलीकै २३ वर्षीया सुशीला मगराती झौखेलकै अर्को इँटाभट्टामा काम गर्छिन्। बिहान २ बजे उठ्ने, इँटा बनाउने उनको नित्य कर्म हो। उनीहरूलाई के दिवस, के अधिकार। उज्यालो नहुँदै झयाउलीबाट निस्केका उनीहरू धुलाम्मे भई
कोही इँटा बनाउँछन्, कोही बोक्नमै व्यस्त रहन्छन्। ‘पाखुरा नबजारी खान पाइने होइन, के दिवस, के अधिकार, गरिबलाई दिवसले छुँदैन,’ ४ वर्षीय छोरालाई धूलोमा छोडेर इँटाको भारी बोक्दै गरेकी सुशीलाले प्रतिप्रश्न गरिन्, ‘हाम्रो परिश्रम र पसिनाको मूल्यांकन गर्ने निकाय पनि छ?’
जानुका भन्छिन्, ‘अधिकार–अधिकार भनेर भएन बाँच्ने आधार पनि त चाहियो।’ घरबास छाडेर भट्टाको झयाउली छिरेका महिलाहरू पुरुषसरह बिहानदेखि साँझ अबेरसम्म हजारदेखि १५ सय इँटा बनाउने गरेको बताउँछन्।

मजदुर महिलाको काँधमा बच्चा हुर्काउने जिम्मेवारी पनि उत्तिकै चुनौतीपूर्ण छ। ‘जताततै माटो मुछ्न कृत्रिम पोखरी बनाइएको हुन्छ, बच्चा जोगाउनै मुस्किल छ,’ काभ्रे खरेपाँगुकी रमिता विकले भनिन्, ‘२ वर्षको छोरा छ, कामसँगै उसकै गोठालो बस्नुपर्छ।’ भट्टामा कार्यरत मजदुरका बालबालिका खुला छाडिएको अस्थायी पोखरीका कारण असुरक्षित रहेको उनीहरूको गुनासो छ। प्रत्येक वर्ष भट्टाको पोखरीमा बालबालिका डुबेर मृत्यु हुने गरेको छ। भट्टा सञ्चालकले कृत्रिम पोखरीमा तारबारको व्यवस्थासमेत गरेका छैनन्।

यहाँ ज्यालाको भने विभेद छैन। कामको समान मूल्यांकन हुने उनीहरू बताउँछन्। ‘गाउँमा मजदुरी गर्दा पुरुषभन्दा महिलाको ज्याला आधा हुन्थ्यो यहाँ त्यस्तो विभेद छैन,’ मन्थलीकी गीता मगरातीले भनिन्, ‘भट्टामा काम गर्न आउनुअघि नै डेढ लाख रुपैयाँ पेस्की लिएका छौं, पछि जति काम गर्‍यो त्यति ज्याला पाइन्छ।’ ज्यालाको विभेद नभए पनि आफ्ना बालिकाबालिका पढ्न पाउने अधिकारबाट वञ्चित भएको उनीहरूको गुनासो छ। ‘गाउँमा बच्चालाई मात्र एक्लै छाडने कुरा भएन, बीचमा पढाइ छुटाएर सँगै ल्याएका छौं,’ उनले भनिन्, ‘यहाँ पढाउने व्यवस्था छैन, मेरी छोरीले पढ्न पाइन।’जिल्लामा ६२ भट्टा सञ्चालनमा छन्। एउटामा ३ देखि ४ सय मजदुर काम गर्छन्। प्रत्येक भट्टामा कामदारका रूपमा आउने महिला र पुरुषको संख्या समान छ।

उपत्यका

९ महिला कन्डक्टर सम्मानित

- शिल्पा कर्ण

काठमाडौं– महानगर यातायातमा सबिना घिमिरेले कन्डक्टरको काम गर्न थालेको १ वर्ष हुन लाग्यो। सिन्धुपाल्चोककी २८ वर्षीया घिमिरे कपनबाट वनस्थली महानगरको कार्यालय पुगेर एकाबिहानै काममा खटछिन्। कहिले बिहानको सिफट पर्छ कहिले बेलुकाको। बिहानको ५ देखि १२ र बेलुकाको दिउँसो १२ देखि राति ८ बजेसम्म।

५ वर्षीय छोरा एलकेजीमा पढदै छन्। उनलाई पनि समय दिने गर्छिन्। घरका काम पतिपत्नी मिलेरै गर्ने हुँदा बसमा राम्ररी काम गर्न पाएकी छन्।
यस्तै दिनचर्या १९ वर्षीया सीता स्याङतानको पनि छ। ७ कक्षामै पढाइ छाडनुपर्‍यो। मकवानपुरकी सीताले पढाइ छाडेपछि गैरसरकारी संस्थामार्फत सिलाइ–कटाइको तालिम लिइन्। तर, माइती नेपालबाट महानगर यातायातमा कन्डक्टरको खाँचो रहेको थाहा पाएपछि फाराम भरिन्, छनोट भइन्। अहिले उनी साथीहरूसँग वनस्थलीमै बस्छिन्। घिमिरे र स्याङतानजस्ता महानगर यातायातमा कार्यरत ९ महिला कन्डक्टरलाई बुधबार माइती नेपालले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सम्मान गरेको छ। सम्मानित हुनेमा घिमिरे र स्याङतानसँगै उमा विश्वकर्मा, रेणुका अधिकारी, गोपिनी नेपाली, चेतकुमारी बस्नेत, कमला पौडेल, भीमा घिमिरे र रुबिना राई छन्। कार्यस्थलमा उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरूलाई सम्मान गरिएको हो। ‘कन्डक्टरको कामलाई त्यत्तिकै पनि सम्मानित पेसा मानिँदैन,’ चेतकुमारीले भनिन्, ‘यो पेसा अँगालेका कारण पहिलोपटक सम्मान पाएकी हुँ। यो पेसाप्रतिको सम्मान पनि हो।’ पहिले काम गर्दा गाडीमा लाज र डर लाग्ने भए पनि अहिले आँट आउने उनी बताउँछिन्। सिन्धुपाल्चोककी २२ वर्षीया चेतकुमारीले काम थालेको १ वर्ष पुग्यो। एसएलसीसम्म पढेकी उनी ड्राइभर बन्ने लक्ष्यसहित काम गरेको बताउँछिन्। घरपरिवारबाट पनि सहयोग पाएकी उनलाई अब कार्यरत कम्पनीले नै ड्राइभिङ सिकाउने भनेपछि उनी उत्साहित छिन्। स्याङतान पनि परिवारले हौसला बढाएकाले आफू यस क्षेत्रमा लागेको बताउँछिन्।

उपत्यका

बढे चोरीका घटना

छोटकरी

काठमाडौं (कास)– उपत्यकाका ३ ठाउँमा मंगलबार चोरी भएको प्रहरीले जनाएको छ। तीनै घटनामा ८ लाखभन्दा बढीको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। मिलनचोकमा डेरा गरी बस्दै आएका महोत्तरीका सूर्यबहादुर श्रेष्ठको कोठामा ताला फुटाएर चोरी भएको हो। कोठाबाट सुनका साढे ६ तोला, चाँदीका गहना २१ तोला र नगद ५ हजार गरी करिब ३ लाख ४५ हजार रुपैयाँबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। मंगलबार दिउँसो सामाखुसीका राजमान श्रेष्ठको घरबाट १ लाख ८० हजारबराबरको धनमाल चोरी भएको छ। यस्तै मंगलबार साँझ पुरानो बानेश्वरमा डेरा गरी बस्ने विपिनकुमार विष्ट र उनको घरसँगैको अर्को घरमा डेरा गरी बस्ने डम्बरकुमार श्रेष्ठको कोठाबाट पनि चोरी भएको छ।

उपत्यका

‘फागनुभित्रै दर्ता असम्भव’

छोटकरी

काठमाडौं (कास)– नेपाल औषधि व्यवसायी संघले क्लिनिक दर्ताको प्रावधान उपयुक्त भए पनि समयसीमा उपयुक्त नभएको जनाएको छ। संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले विज्ञप्ति जारी गर्दै फागुन मसान्तभित्र दर्ता सम्भव नहुने जनाएका छन्। क्लिनिक दर्ताको विषयमा घरेलु तथा साना उद्योग विभागको कार्यविधि दिग्दर्शन, वाणिज्य कार्यालयको मापदण्ड र स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिकामा फरक देखिएको संघले जनाएको छ। 

उपत्यका

अक्षयकोष स्थापना

छोटकरी

भक्तपुर (कास)– प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरले ‘चन्द्रगंगा क्रियाशील पत्रकारिता पुरस्कार’ अक्षयकोष स्थापना गरेको छ। जिल्लामा क्रियाशील पत्रकारहरूलाई प्रत्येक वर्ष पत्रकारिता पुरस्कार दिने उद्देश्यले शाखाले स्थापना गरेको अक्षयकोषका लागि एमाले केन्द्रीय निर्वाचन विभाग सदस्य एवं अधिवक्ता राजु खडकाले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। शाखाले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष क्रियाशील पत्रकारलाई नगद ६ हजार १ रुपैयाँको पुरस्कार दिनेछ।

उपत्यका

समयमै सुरुङ खन्न निर्देशन

काठमाडौं (कास)– मेलम्ची खानेपानी विकास समितिले सुस्त गतिमा रहेको सुरुङ खन्ने प्रक्रिया तीव्र रूपमा अघि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ। तोकिएकै समयसीमा (असोज) भित्र पानी ल्याउन समितिले सिन्धु–ग्यालथुङ खण्डको सुस्त सुरुङ निर्माण प्रक्रिया अघि बढाउन यस्तो निर्देशन दिएको हो। कमजोर भूबनोटका कारण उक्त खण्डको सुरुङ निर्माणमा सुस्तता आएको छ। ‘दैनिक २५/३० मिटर खन्नुपर्ने हो तर त्यो हुन सकेको छैन,’ आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीले भने, ‘हाल ४/५ मिटर दैनिक सुरुङ खन्ने काम भएको छ।’ वैकल्पिक प्रविधि प्रयोग गरी सुरुङ खन्ने काम चाँडो गर्न निर्देशन दिइसकेको उनले बताए।

‘निर्माण कम्पनीसँग पहिले वैकल्पिक प्रविधि ल्याएर काम गर्ने गर्नेबारे सम्झौता भएको रहेनछ,’ उनले भने, ‘हाल एक किसिमको समझदारी भइसकेको छ, असोजमा पानी ल्याउन साउनमा सुरुङ खन्ने काम सम्पन्न गरिसक्नुपर्छ।’ सिन्धु–ग्यालथुङसम्म २.२ किमि र यालथु–अम्बाथान २.२ किमि सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ। ‘अब साढे ४ किमिभन्दा कम सुरुङ खन्न बाँकी छ,’ दुवाडीले भने, ‘ग्याथुङ–अम्बाथान खण्डमा खास समस्या छैन।’

उक्त खण्डमा दैनिक २०/२५ मिटर सुरुङ खन्ने काम भइहरेको उनले बताए। सुन्दरीजलदेखि सिन्धु अडिटसम्मको सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ। तीनवटा अडिटमध्ये सुन्दरीजल–सिन्धु (साढे ९ किमि), सिन्धु–ग्यालथुङ (८ किमि), र ग्यालथुङ–अम्बाथान अडिट (९ किमि) छन्। दुवाडीले पानी बग्ने सुरुङको लम्बाइ करिब साढे २६ किमि भएको भन्दै त्यसमध्ये साढे ४ किमि भन्दा कम बाँकी रहेको बताए।

‘सिन्धु अडिटदेखि सुन्दरीजलसम्म सबभन्दा लामो सुरुङ खण्ड हो, त्यो जोडिसकेको छ, समस्या ग्यालथुङ–सिन्धु खण्डमा हो,’ उनले भने, ‘अम्बाथानमा हेडवर्कको निर्माण पनि तीव्र गतिमा भइरहेको छ।’ दोस्रो चरणमा याङग्री र लार्के खोलाबाट पानी ल्याउने तयारीसमेत भइरहेको उनले जानकारी दिए। ‘याङग्री र लार्के सुरुङको डीपीआर तयार हुन्छ,’ उनले भने, ‘प्रतिवेदन आउनेबित्तिकै निर्माण कार्य अघि बढ्छ।’ मेलम्चीबाट याङग्रीबीचको सुरुङको लम्बाइ ९ किमि र याङग्री–लार्केबीचको सुरुङको लम्बाइ करिब २ किमि रहेको आयोजनाले जनाएको। यस्तै मेलम्चीदेखि लार्केबीचको सुरुङको लम्बाइ ११ किमि छ।

उपत्यका

तालमेल नमिल्दा पुस्तक अभाव

- रासस

काठमाडौं– सामुदायिक विद्यालयको विद्यार्थी संख्या र पाठयपुस्तक छपाइका लागि विनियोजित बजेटबीच तालमेल नहुँदा बर्सेनि पाठयपुस्तक अभाव देखिएको छ ।

तथ्यांक यकिन नहुनु र सम्बद्ध निकायबीच समन्वय नहुनुका साथै सरकारी निकायलाई घाटामा पुर्‍याएर निजी क्षेत्रलाई पोस्ने प्रवृत्तिका कारण बर्सेनि पाठयपुस्तक अभाव देखिएको बताइएको छ । शिक्षा पत्रकार समूहले गरेको एक अध्ययनमा कमिसनकै कारण यस्तो हुने देखिएको हो ।
‘शिक्षा विभागले बर्सेनि प्रकाशित गर्ने फ्ल्यास रिपोर्ट नै विद्यार्थीको कति संख्या हो भन्ने आधिकारिक तथ्यांकीय सूचीअनुसार विभागले जनक शिक्षा र निजी क्षेत्रलाई किताब छाप्नु भन्छ । तर यो तथ्यपरक देखिँदैन । यसपालि नै फ्ल्यास रिपोर्टमा उल्लेख भएभन्दा १० लाख कम विद्यार्थी रहेको विभागकै पछिल्लो तथ्यांकले स्पष्ट पारेको छ । तथ्यांकमा विश्वस्त नभएपछि जनक शिक्षा र निजी क्षेत्रले घाटा हुने भयले कम किताब छाप्ने गरेका छन्,’ अध्ययनमा भनिएको छ ।

अहिले १ देखि १० कक्षासम्मका विद्यार्थीलाई नयाँ पाठयपुस्तक दिनैपर्ने नीति र कार्यक्रम छ । २०६७ मंसिर १० मा स्वीकृत भई लागू भएको ‘विद्यालय पाठयपुस्तक तथा पाठयसामग्री छपाइ तथा वितरण निर्देशिका २०६७’ ले सामुुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई नयाँ पाठयपुस्तक नि:शुल्क उपलब्ध गराउने उल्लेख गरेपछि हरेक वर्ष नयाँ किताब छाप्नैपर्ने हुन्छ । सोअनुसार किताब किन्न विद्यालयलाई एकमुष्ठ अनुदान विनियोजन हुन्छ ।

विभागको फ्ल्यास रिपोर्ट २०७३ मा कक्षा १–५ सम्म ३४ लाख ५० हजार २३ विद्यार्थी संख्या देखिन्छ भने सोही तहको पाठयपुस्तक छपाइका लागि २९ लाख ५२ हजार ९ सय ८५ विद्यार्थी संख्या मानी ६४ करोड ९३ लाख रुपैयाँ विनियोजित छ । कक्षा १ देखि १० सम्म विद्यार्थीको अन्तर १० लाख ९१ हजार ७ सय ५४ देखिन्छ । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल तथ्यांकको सत्यापन जारी रहेको जनाउँदै पाठयपुस्तकमा जिम्मेवार निकायले समयमा उत्पादन नगर्दा समस्या आएको बताउँछन् ।

उपत्यका

विभागले नै सञ्चालन गर्ने

‘ड्राइभिङ ट्रायल’ सेन्टर
- दीपेन्द्र विष्ट

काठमाडौं– सर्वोच्चको अन्तरिम आदेशपछि यातायात व्यवस्था विभाग आफैंले ‘ड्राइभिङ ट्रायल’ सेन्टर सञ्चालन गर्ने भएको छ । निजी क्षेत्रको सुजुकी ड्राइभिङ स्कुल प्रालिको योग्यता नपुगेको भन्दै अदालतले आदेश दिएपछि विभागले आफैं सञ्चालनको तयारी थालेको हो । ‘सेवाग्राहीको चाप छ,’ विभागका प्रवक्ता टोकराज पाण्डेले भने, ‘अदालतको आदेशपछि विभागले कुनै व्यवस्था गर्नैपर्छ ।’ विभागको मीनभवनस्थित परिसर, रामशाहपथस्थित नेसनल ट्रेडिङ परिसर र एकान्तकुनास्थित यातायात कार्यालयमा ट्रायल सेन्टर सञ्चालन गरिने उनले बताए ।

उपत्यकामा एकान्तकुनाबाहेक अन्य ३ वटा यातायात कार्यालय थपिएका छन् । सेवगाग्राहीलाई सवारी अनुमतिपत्र लिन गाह्रो भएको भन्दै सरकारले सल्लाघारी, कलंकी र चाबहिलमा नयाँ कार्यालय थपेको हो । त्यसपछि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम २० को अनुसूची ३ विपरीत विभागले ट्रायल सेन्टर सञ्चालन गर्ने जिम्मा निजी क्षेत्रलाई दिएको थियो ।

त्यसविरुद्ध सर्वोच्चमा परेको रिटमा विभाग र स्कुलबीचको सम्झौताले सेवाग्राहीलाई थप आर्थिक भार पर्ने भएकाले निजी संस्थालाई सञ्चालन गर्न नदिन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले आदेश दिएको थियो । ट्रायल सेन्टर सिफारिस समितिले दिएको सुझाव लत्याउँदै मन्त्रालयले १० वर्षका लागि प्रालिसँग सम्झौता गरेको थियो । विभागले खरिद ऐनविपरीत आशयपत्रै नमागी सिधै प्रस्तावपत्र माग गरेको थियो । विभागका अनुसार लाइसेन्स वितरणलाई प्रभावकारी र व्यवस्थित बनाउन कात्तिक ३ मा इच्छुक निजी क्षेत्र (व्यक्ति तथा फर्म) का लागि सिलबन्दी प्राविधिक प्रस्ताव आहवान गरेको थियो । सूचनामा अनुमतिपत्र वितरणका लागि सञ्चालन गरिने प्रयोगात्मक परीक्षा व्यवस्थित गर्ने निर्देशिका २०६९ को मापदण्डअनुसारको ट्रायल सेन्टर हुनुपर्ने उल्लेख छ ।

विभागको सूचनाअनुसार बेलकल भेइकल स्कुल प्रालि, भ्याली ड्राइभिङ स्कुल प्रालि, सैनिक ड्राइभिङ स्कुल प्रालि र सुजुकी ड्राइभिङ स्कुल प्रालिले प्रस्ताव दर्ता गराएका थिए । ट्रायल सेन्टर मापदण्डअनुसार भए/नभएको सम्बन्धमा एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्रका अधिकृत गणेश अर्यालको संयोजकत्वमा समिति बनेको थियो । समितिले सुजुकीसहित चारवटैलाई स्वीकृत दिन नमिल्ने सुझाव दिएको थियो । समितिले चारवटैको स्थलगत नापजाँच र विश्लेषण गरी ‘सर्तहरू पूरा नगरेको र गर्न सक्ने अवस्था नरहेको’ भन्ने प्रतिवेदन विभागमा बुझाएको थियो । ‘पेस भएका ४ प्रस्तावले प्रकाशित सूचनामा उल्लेखित शतप्रतिशत सर्त पूरा गर्न नसकेको हुँदा चारवटै प्रस्तावदाताको प्राविधिक प्रस्ताव
स्वीकृत नगर्ने,’ प्राविधिक कमिटीले बुझाएको प्रतिवेदनमा उल्लेख छ । तर, उक्त प्रतिवेदन लत्याउँदै विभागले सुजुकीलाई अनुमति दिएको हो ।
प्रतिवेदनअनुसार सुजुकीको ट्रायल सेन्टर फिगर ८ रेखांकन मापदण्डअनुसार थिएन । निर्देशिका २०६९ को अनुसूचीमा आधारित सिम्पल ड्राइभ टेस्टको व्यवस्था छैन । प्रतिवेदनमा सिम्पल टेस्ट ड्राइभका लागि ट्रायलस्थलले ओगटेको स्थान अपुग हुने दाबी गरेको छ । त्यसपछि विभागका निर्देशक चन्द्र फुयाँलको संयोजकत्वमा विभागकै मेकानिकल इन्जिनियर गगन हमाल, एकान्तकुनास्थित लाइसेन्स फाँट प्रमुख तेजनारायण यादवसहित निर्देशिका संशोधन समिति गठन गरिएको थियो । ऐनमा भएका प्रावधान छलेर समितिले रातारात निर्देशिका संशोधन गरी सुजुकीलाई ट्रायल अनुमति दिएको हो,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले भने, ‘न्यायालयले जनतालाई न्याय दियो ।’

उपत्यका

उपत्यकामा स्वाइन फ्लु

- रासस

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि आएका एक व्यक्तिमा स्वाइन फ्लुको जीवाणु देखिएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार ललितपुरका एक पुरुषमा यसको जीवाणु रहेको पुष्टि भएको हो । नेपालमा गत वर्ष वर्षायाममा स्वाइन फ्लुको जीवाणु देखिए पनि यसपटक निकै अगाडि देखिएको पुनले बताए । उनले भने, ‘दुई साताअघि रुघाखोकी र लामो समय ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइन फ्लुको शंका लागेर जाँच गर्दा जीवाणु भेटिएको हो ।’

खोकी लागिरहने, घाँटी खसखसाउने, १० दिनभन्दा बढी कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भए स्वाइन फ्लु भएको हुन सक्छ । यस्ता लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ ।स्वाइन फ्लु सरुवा रोग एक(अर्कामा चाँडो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाच्छयुँ गर्दा रुमालले मुख छोप्ने, साबुनपानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शंका लागे बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने डा. पुनले बताए ।

उपत्यका

आज श्रवण दिवस

- रासस

काठमाडौं– सरकारले बढै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्न आज (मार्च ३ अर्थात् फागुन २०) ‘ध्वनि प्रदूषणलाई रोकौं, बहिरोपनबाट बचौं र बचाऔं’ भन्ने नारासहित श्रवण दिवस मनाउँदै छ । स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको राष्ट्रिय बहिरोपन नियन्त्रण कार्यक्रमका फोकल पर्सन तथा वीर अस्पतालका नाक, कान, घाँटी विभाग प्रमुख प्राडा ढुण्डीराज पौड्यालले यस विषयमा जनचेतना जगाउन आवश्यक रहेको बताए । ‘२० वर्षपहिले विदेशी संस्थाले गरेको सर्वेक्षणमा नेपालका १६ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको बहिरोपनको समस्या थियो, त्यसपछि कुनै अध्ययन भएको छैन,’ उनले भने, ‘अब यसबारे अध्ययन गर्ने योजना बनाएका छौं ।’

उपत्यका

महाप्रबन्धकमा लौडारी

छोटकरी
- रासस

काठमाडौं– सरकारले दी टिम्बर कर्पोरेसन अफ नेपालको महाप्रबन्धकमा राजु लौडारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविधिअनुसार खुला प्रतिस्पर्धाबाट लौडारी छनोट भएका थिए ।

उपत्यका

वाद्य गुरुलाई अभिनन्दन गरिने

छोटकरी
- कान्तिपुर संवाददाता

भक्तपुर– मध्यपुरठिमी ७, पाचोका ८७ वर्षीय परम्परागत नृत्य तथा वाद्य गुरु श्रीगोपाल प्रजापतिलाई नागरिक अभिनन्दन गरिने भएको छ । ओस्ला नेपालको संयोजनमा मध्यपुरठिमीमा अवस्थित एक सय एक सामाजिक संस्थाले अभिनन्दन गर्न लागेको मूल समारोह समिति संयोजक मदनसुन्दर श्रेष्ठले बताए । ६ वर्षको उमेरदेखि विभिन्न नृत्यमा संलग्न भई प्रजापतिले परम्परागत भैरव, महाकाली, अष्टमातृका, भष्मासुर, लाखे, ज्यापु/ज्यापुनीलगायत दर्जन बढी नाच प्रशिक्षण दिएका छन् । यस्तै युवा पुस्तालाई उनले धिमे, मृदङ्ग, दाफा खिं, दाग खिं (धा बाजा) को प्रशिक्षणसमेत दिएको संयोजक श्रेष्ठले बताए ।

उपत्यका

वाद्य गुरुलाई अभिनन्दन गरिने

छोटकरी
- कान्तिपुर संवाददाता

भक्तपुर– मध्यपुरठिमी ७, पाचोका ८७ वर्षीय परम्परागत नृत्य तथा वाद्य गुरु श्रीगोपाल प्रजापतिलाई नागरिक अभिनन्दन गरिने भएको छ । ओस्ला नेपालको संयोजनमा मध्यपुरठिमीमा अवस्थित एक सय एक सामाजिक संस्थाले अभिनन्दन गर्न लागेको मूल समारोह समिति संयोजक मदनसुन्दर श्रेष्ठले बताए । ६ वर्षको उमेरदेखि विभिन्न नृत्यमा संलग्न भई प्रजापतिले परम्परागत भैरव, महाकाली, अष्टमातृका, भष्मासुर, लाखे, ज्यापु/ज्यापुनीलगायत दर्जन बढी नाच प्रशिक्षण दिएका छन् । यस्तै युवा पुस्तालाई उनले धिमे, मृदङ्ग, दाफा खिं, दाग खिं (धा बाजा) को प्रशिक्षणसमेत दिएको संयोजक श्रेष्ठले बताए ।

अभिनन्दन समारोहमा प्रजापतिले सिकाएका सांस्कृतिक नृत्य र झाँकी प्रदर्शन गर्ने तयारी गरिएको छ । समारोहमा समितिले स्मारिका, प्रजापतिको तस्बिर अंकित चाँदीका सिक्का र आत्मवृत्तान्त पुस्तकसमेत सार्वजनिक गर्ने समितिले जनाएको छ । प्रजापतिलाई शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनको आतिथ्यमा अभिनन्दन गरिनेछ ।

उपत्यका

घलेका २२ कृति विमोचन

छोटकरी
- रासस

काठमाडौं– समाजसेवी एवं पूर्वमन्त्री भद्रकुमारी घलेले विभिन्न समयका अनुभवलाई संग्रह गरी लेखेका २२ कृति विमोचन गरिएको छ । बिहीबार विमोचित कृतिमा आत्मवृतान्त, निबन्ध, कवितालगायत छन् । ती कृतिमा सौन्दर्य, प्रकृति, जनसंख्या, जीवनजस्ता विषयलाई विम्ब बनाइएको छ ।  

उपत्यका

घूससहित अधिकृत पक्राउ

छोटकरी
- रासस

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग, मीनभवनका शाखा अधिकृत अर्जुनप्रसाद रिजाललाई २५ हजार रुपैयाँ घूससहित कार्यस्थलबाटै पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार शाखा अधिकृत रिजाल महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनमा विभिन्न बहानामा बिहीबार घूस रकम माग गरिरहेको सूचनाका आधारमा आयोगको पक्राउ गरेको हो ।

उपत्यका

‘क्षमता वृद्धि गर्नुपर्छ’

छोटकरी
- रासस

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी वकिलको दक्षता र क्षमता अभिवृद्धि गरी तिनलाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन् । शीतलनिवासमा बिहीबार महान्यायाधिवक्ता कार्यालयको ०७२/७३ को वार्षिक प्रतिवेदन बुझै यस्तो बताएकी हुन् । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सरकारी वकिलले प्रभावकारी तरिकाले काम गरिरहेको बताएका थिए ।

Page 5
समाचार

‘फायरिङ पोलिसी’ उल्लंघनले मानवीय क्षति

सप्तरी घटना
- जनकराज सापकोटा

काठमाडौं– पछिल्लो मधेस आन्दोलनमा प्रहरीले टाउकोमा ताकेर गोली हानेको भनी आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले फायरिङ पोलिसी बनाएको थियो। डीआईजी हेमन्तबहादुर पालसहितको टोलीले फायरिङ पोलिसीमा गोली चलाउनुअघिको अवस्था र गोली चलाउनुपरे अधिकार कसलाई दिने भन्ने किटान गरिएको थियो। तर पछिल्लो सप्तरी घटनाले प्रहरीमाथि ‘भीड नियन्त्रण गर्न प्रहरीले हानेको गोली टाउकोमै किन लाग्छ?’ भन्ने पुरानै प्रश्न फेरि तेर्सिएको छ।

प्रहरी आफैंले निर्माण गरेको फायरिङ पोलिसी सप्तरी घटनामा उल्लंघन भएको प्रहरीकै उच्च अधिकारीहरू बताउँछन्। नेपाल प्रहरीका एक पूर्वमहानिरीक्षक गैरघातक हतियार चलाउने र भीड नियन्त्रण गर्ने पर्याप्त तालिम प्रहरीले नपाएको बताउँछन्। त्यसो त प्रहरीसँग सर्ट गन अर्थात् रबरको छर्रा हान्ने गोली नभएको होइन। केही समयअघि मात्रै भारतको कश्मीरमा भीड नियन्त्रण गर्न रबरको छर्रा चलाइएको थियो। साधारणतया यस्तो छर्राले धेरै प्रदर्शनकारी घाइते भए पनि मृत्यु हुने जोखिम कम हुन्छ। तर भीड नियन्त्रणमा नेपाल प्रहरीले रबरको छर्रा सही रूपमा प्रयोग गर्न सकेको देखिँदैन।

फायरिङ पोलिसीमा भीड नियन्त्रणका बेला गोली चलाउने प्रहरी अधिकारी कमान्डरको आदेशमा मात्रै चल्नुपर्ने, नजिकै बस्नुपर्ने, घातक हतियार बोक्ने प्रहरी शान्त स्वभावको हुनुपर्ने उल्लेख गरिएका छन्। ‘तर सप्तरी घटनामा यो विधि पालन गरेको जस्तो देखिँदैन,’ नेपाल प्रहरीको विशेष ब्युरोका एक उच्च अधिकारीले भने।

पाँचै विकास क्षेत्र र प्रहरी प्रधान कार्यालयमा रहेको दंगा नियन्त्रण गणका प्रहरीलाई फायरिङ पोलिसीबारे केही चरणका तालिम पनि दिइएको थियो। तर त्यो पर्याप्त देखिएन। फायरिङ पोलिसीमा प्रहरीलाई हतियार चलाउने तालिम नियमित रूपमा दिनुपर्ने उल्लेख छ। आधारभूत तालिमपछि लामो समयसम्म प्रहरीले हतियार चलाउने तालिम नपाउने र एकैचोटि यस्ता घटनामा फायरिङ खोल्नुपर्ने अवस्थाले घुँडाभन्दा मुनि निसाना लगाउन प्रहरी चुकेको देखिन्छ। फायरिङ पोलिसी बनेपछि तालिम सुरु गरिए पनि गोली अभावमा निरन्तरता पाउन सकेन। प्रहरी स्रोतका अनुसार त्यस्तो पूर्ण तालिमका निम्ति प्रतिप्रहरी औसतमा २० गोली चाहिन्छ। तर पर्याप्त गोलीको अभावमा प्रहरीले त्यस्तो तालिम धेरै प्रहरीलाई दिन सकेन।

एक प्रहरी अधिकारी सप्तरीको घटनामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच समन्वय नभएको र घटनाबारे फरक–फरक बुझाइ रहेको बताउँछन्। पछिल्लो मधेस आन्दोलनलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभ्यास इटहरी, पथलैया, बुटवल, धनगढी, पोखरा र काठमाडौंमा भएको थियो। पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गतको दंगा नियन्त्रण गणको टोली खटिए पनि त्यसमा फायरिङ पोलिसीबारे जानकार नभएका प्रहरी पनि खटिएका थिए। ‘दंगा नियन्त्रणमा पहिलो तहमा सिभिल प्रहरी, दोस्रो तहमा प्रहरी र अन्तिम तहमा मात्रै सशस्त्र प्रहरी बस्ने आधरभूत नियम हुन्छ जुन सप्तरीमा देखिएन,’ एक उच्च प्रहरी अधिकारीले भने। नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्रबहादुर सिंह भने प्रहरीमा तालिमको अभावमा कारण यस्तो घटना भएको मान्दैनन्। उनको बुझाइमा यस्ता भीड नियन्त्रणमा नेपाल प्रहरीले कम मानवीय क्षति हुने गरी नै काम गरिरहेको छ।

समाचार

बेलायतद्वारा चिन्ता व्यक्त

काठमाडौं (कास)– बेलायतले स्थानीय निर्वाचन नजिकिँदै गर्दा सप्तरीमा सोमबार भएको घटनाप्रति चासो प्रकट गर्दै चिन्ता व्यक्त गरेको छ। बेलायती दूतावासले बुधबार विज्ञप्ति जारी गरी आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा राख्न छुट दिइनुपर्ने भन्दै सरकार र राजनीतिक दलहरूलाई संयम भएर सौहार्दपूर्ण वातावरण निर्माण गर्न आग्रह गरेको छ।

सप्तरीको राजविराजमा सोमबार प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपप्रति आफ्नो चिन्ता व्यक्त गर्दै बेलायतले भनेको छ, ‘निर्वाचनको मुखमा ज्यान जाने गरी भएको उक्त घटना दु:खद हो। यस्तो घटना अबका दिनमा दोहोरिन नदिन सबै पक्ष उत्तिकै जिम्मेवार हुन जरुरी छ।’ बेलायतले राजनीतिक बहसमा हिंसाको स्थान नहुने जनाएको छ। ‘नेपाली जनता लामो समयपछि स्थानीय निर्वाचनको पर्खाइमा छन्। सरकार त्यसको तयारीमा छ। सबै मिलेर यसलाई प्रोत्साहन गर्न आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।

एमनेस्टी इन्टरनेसनलले समेत सप्तरी घटनाबारे चासो व्यक्त गरेको छ। नेपाल स्थानीय निर्वाचनमा जाँदै गर्दा ज्यान नै जाने गरी यस्तो घटना हुनुलाई दु:खद भन्दै एमनेस्टी इन्टरनेसनलले त्यसलाई अभिव्यक्ति स्वतन्त्रतामा सुरक्षा निकायले गरेको बल प्रयोगका रूपमा व्याख्या गरेको छ। उसले त्यस घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने समेत भनेको छ। ‘अभिव्यक्ति स्वतन्त्रता तथा सभा सम्मेलनमा हत्याहिंसाको कुनै स्थान हुँदैन,’ एमनेस्टी इन्टरनेसनलले जारी गरेको विज्ञप्तिमा छ। एमनेस्टीले सुरक्षा निकायले संयमता अपनाउन र आफ्नो मूल्यमान्यतामा रहन आवश्यक पर्नेसमेत उल्लेख गरेको छ। राजनीतिक दलहरूले शान्तिपूर्ण ढंगले आफ्नो धारणा राख्न पाउनुपर्नेमा समेत एमनेस्टीले जोड गरेको छ।

समाचार

११ जिल्लामा पोलियो खोप

काठमाडौं (कास)– पन्ध्र जिल्लामा सञ्चालित राष्ट्रिय खोप कार्यक्रम एघार जिल्लामा सम्पन्न भएको छ। सप्तरी, पर्सा, रौतहट र कैलाली भने खोप जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रिय खोप कार्यक्रमका प्रमुख केबी चन्दका अनुसार सप्तरी जिल्ला बन्द भए पनि मंगलबार गाउँमा पोलियो खोप कार्यक्रम सञ्चालन गरिएको थियो। ‘आगामी शुक्रबारसम्म लक्षित सबै जिल्लामा कार्यक्रम सकिन्छ,’ चन्दले भने।

समाचार

एमालेले सबै जिल्लामा सभा गर्ने

काठमाडौं (कास)– एमालेले राजविराज घटनाबारे आमजनता र पार्टी कार्यकर्तालाई जानकारी दिन देशभरका सबै जिल्लामा सभा गर्ने भएको छ। सभाको मिति तय गरी कार्यक्रम गर्न एमालेले सबै जिल्ला कमिटीलाई बुधबार निर्देशन दिएको हो।

एमालेको मेची–महाकाली अभियान बिथोल्ने क्रममा मधेसी मोर्चा र प्रहरीबीचको झडपका कारण ४ जनाको मृत्यु भएको थियो। प्रदेश–२ मा समेत विस्तारै अगुवा कार्यकर्ता भेला गरिने एमाले सचिव योगेश भट्टराईले बताए। ‘प्रदेश नम्बर २ अन्तर्गतका जिल्लामा कार्यकर्ता भेलाका साथै जिल्लास्तरीय सभा गरिनेछ,’ सचिवालय बैठकपछि भट्टराईले भने।
मधेसका विभिन्न जिल्लामा एमालेका पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घर, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भइरहेकाले आवश्यक सुरक्षा व्यवस्था मिलाउन एमालेले सरकारसँग माग गरेको छ। फागुन २७ देखि मेची–महाकाली अभियानका कार्यक्रम निरन्तर जारी रहने भएकाले त्यसमा सहभागी हुन पनि पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ। बिहीबार राजधानीमा सबै अगुवा कार्यकर्ता भेला पारी राजविराज घटनाबारे जानकारी दिने एमालेले जनाएको छ।

समाचार

मधेसमा स्वागत : यादव

काठमाडौं (कास)– तमसपा अध्यक्ष महेन्द्र राय यादवले मधेसको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अवरोध गर्ने कुनै नीति नरहेको बताएका छन्। यसअघि पनि मोर्चाले एमालेको विरोध नगरेको भन्दै उनले आम मधेसीको विरोध हुनु भने स्वाभाविक भएको दाबी गरे। ‘एमालेले मधेसको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न पाउँछ, मेची–महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस्, हामी बिथोल्दैनौं,’ रिपोटर्स क्लबमा बुधबार यादवले भने, ‘यदि तपाईंहरूको कार्यक्रम हाम्रा कार्यकर्ताले बिथोलेका छन् भने नाम दिनुहोस्, हामी सरकारलाई भनेर कारबाही गराउँछौं।’

उनले मोर्चाले आह्वान गरेको दुईदिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरूको घर, पार्टी कार्यालय तोडफोड नगरेको बताए। कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ भएको उनको जिकिर थियो। शुक्रबार एमालेले हेटौंडाबाट सुरु गर्ने अभियानमा मोर्चाले कुनै पनि किसिमको अवरोध तथा विरोधका कार्यक्रम नगर्ने उनले स्पष्ट पारे। सप्तरीको गोलीकाण्डमा निहत्था मधेसी परेको भन्दै उनले आपत्ति जनाए। उनले संविधान संशोधन आफ्नो बटमलाइन भएको भन्दै त्यो नहुँदासम्म मोर्चा निर्वाचनमा जान नसक्ने बताए।

देश

अधिकांशमा नेविसंघ र अखिल

- जिल्ला ब्युरो
गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसको स्ववियुमा जित हासिल गरेपछि खुसियाली मनाउँदै अनेरास्ववियुका विद्यार्थी  । तस्बिर : घनश्याम गौतम/कान्तिपुर

विभिन्न जिल्लाबाट स्ववियु निर्वाचनको परिणाम आउने क्रम जारी छ । प्रायजसो क्याम्पसमा सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका भ्रातृ संगठन विजयी भएका छन् । केहीमा अझै विवादका कारण मतगणना सुरु भएको छैन । विद्यार्थी संगठनकै अवरोधले चुनाव स्थगित गरिएका क्याम्पसको सूची पनि लामै छ ।

पूर्वका विभिन्न क्याम्पसमा स्ववियु नेतृत्वका लागि भएको मतदानको परिणामअनुसार बिहीबारसम्म कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एमालेनिकट अखिल अग्रपंक्तिमा छन् ।

ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा नेविसंघ प्यानल विजयी भएको छ । सभापतिमा प्रेमकुमार राई चुनिए । भोजपुर बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियुले सचिवबाहेक सबै पदमा जित हात पारेको छ । प्रकाशसिं राई अध्यक्ष बनेका छन् । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा संघीय गठबन्धनले जितेको छ । माओवादी केन्द्र र विप्लव समर्थित विद्यार्थी संगठन, संघीय विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरमको साझा प्यानलका उम्मेदवार समाजवादीका सागरसरगम चेम्जोङ सभापति चुनिए । केन्द्रीय प्रविधि क्याम्पस हातीसारमा सौरभ सञ्जेलको नेतृत्वमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।

संखुवासभाका चारवटै क्याम्पसमा अनेरास्ववियु विजयी भयो । बरुण बहुमुखी क्याम्पसमा सुरेश थापा, मादी बहुमुखीमा नवराज कडुवाल र संखुवासभा बहुमुखी क्याम्पसमा मनोज तामाङ सभापति भए । रामेश्वर बहुमुखी क्याम्पसमा नवीन राईलाई चिट्ठा तानेर सभापति छानियो ।

झापाका ६ मा नेविसंघ
जिल्लाका ६ वटा क्याम्पसमा नेविसंघ विजयी भएको छ । निर्वाचन गरिएका १० मध्ये मेची बहुमुखी क्याम्पसमा विवादले मतगणना सुरु हुन सकेको छैन । नेविसंघले काँकडभिट्टा, दुर्गा, गौरीगन्ज, कन्काई बिर्तामोड, दमक र शनिश्चरेमा जित हासिल गरेको हो । शनिश्चरेमा ईशान पौडेल, दमक बहुमुखीमा विनोद चापागार्इं, बिर्तामोडस्थित कन्काई आदर्शमा सञ्जय राई, गौरीगन्जमा देवकुमार ताजपुरिया, काँकडभिट्टामा सुरज सुवेदी र गरामनीस्थित दुर्गा क्याम्पसमा विनोद उप्रेती सभापति चुनिए ।

गौरादह बहुमुखी क्याम्पस र त्रिदेव क्याम्पस चारआलीमा भने अनेरास्ववियु विजयी भएको छ । गौरादहमा कमल पौडेल र त्रिदेवमा लक्ष्मीप्रसाद न्यौपाने सभापतिमा निर्वाचित भए । देवी क्याम्पस बिर्तामोडको सभापतिमा अखिल क्रान्तिकारीका पदमप्रसाद खड्काले जित हात पारेका छन् । मेची बहुमुखी क्याम्पस भद्रपुरमा भने फर्जी मतको विवादका कारण बिहीबार साँझसम्म पनि गणना सुरु हुन सकेको छैन । धुलाबारी बहुमुखी क्याम्पसमा फागुन २१ गतेका लागि निर्वाचन तय गरिएको छ भने कन्काई बहुमुखी क्याम्पस सुरुंगामा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा गणेश घिमिरे नेतृत्वको अनेरास्ववियु प्यानल विजयी भएको छ । पथरी बहुमुखी क्याम्पसमा गोपाल सावाँ नेतृत्वको नेविसंघ प्यानलले जितेको छ ।

कोहलपुरमा अखिलको प्यानलै
बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा अनेरास्ववियुका दिनेश केसीको प्यानलै विजयी भएको छ । बुधबार राति अबेर भएको मतगणनामा उनले १ सय ७६ मत ल्याएका हुन् ।

नारायण र द्रोणाचलमा अखिल
दैलेखका नारायण र द्रोणाचल क्याम्पसमा अनेरास्ववियुले जित हासिल गरेको छ । नारायण क्याम्पसमा रेखा थापा र द्रोणाचल क्याम्पसमा अग्नि रिजाल सभापति चुनिए । जिल्लाका पाँचमध्ये चामुन्डा र तिलेपाटा क्याम्पसमा निर्वाचन हुन सकेको छैन । अवलपराजुलमा नेविसंघको प्यानल निर्विरोध भएको छ ।

तीनमा नेविसंघ, एकमा अखिल
पोखराका चुनाव भएका पाँच क्याम्पसमध्ये तीनमा नेविसंघ र एउटामा अनेरास्ववियुले जितेको छ । बिन्दुवासिनी संस्कृत विद्यापीठ, चिकित्साशास्त्र अध्ययन संस्थानको नर्सिङ कलेज र जनप्रिय बहुमुखी क्याम्पसमा नेविसंघ र वन विज्ञान अध्ययन संस्थानको पोखरा क्याम्पसमा अनेरास्ववियुले जित हात पारेका हुन् । इन्जिनियरिङ अध्ययन संस्थानको पश्चिमाञ्चल क्याम्पसमा भने डेढ सय मत गन्न बाँकी छँदा विवाद उत्पन्न भएपछि गणना रोकिएको छ । नेविसंघ र अखिल क्रान्तिकारीले विवाद झिकेपछि मतगणना रोकिएको निर्वाचन समितिले जनाएको छ । बिन्दुवासिनी संस्कृत विद्यापीठमा प्रत्यक्षतर्फ केशव आचार्यको नेतृत्व र नर्सिङ कलेजमा राजलक्ष्मी बस्नेतको नेतृत्वमा नेविसंघ प्यानलै विजयी भएको छ ।
जनप्रिय बहुमुखी क्याम्पसमा नेविसंघ र नयाँशक्ति विद्यार्थीको संयुक्त प्यानलबाट सभापतिमा आशिक गुरुङ विजयी भएका छन् । वन विज्ञान क्याम्पसमा अनेरास्ववियुले प्यानलै जितेको छ । सभापतिमा विशाल अर्याल चुनिए ।

तनहुँमा नेविसंघ
निर्धारित मितिमा नेविसंघले मात्रै उम्मेदवारी दर्ता गरेपछि सहिद कृष्ण क्याम्पसमा निर्विरोध निर्वाचित भएको छ । अन्य चार क्याम्पसमा पनि नेविसंघको प्यानलै विजयी भएको छ । सहिद कृष्ण क्याम्पसमा शीर्षक भट्टराई, आँबुखैरेनी बहुमुखी क्याम्पसमा पूर्णिमा थापा, दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा दुर्गा भण्डारी, भिमादको जनज्योती क्याम्पसमा सुनिल श्रेष्ठ सभापति भएका छन् । त्यस्तै गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा एक सदस्यबाहेक सबै पदमा नेविसंघले विजय हासिल गरेको छ । ८७ मत ल्याएर प्रविन बस्नेत सभापति चुनिए ।

रेसुंगामा संयुक्त प्यानल
गुल्मीको रेसुंगा क्याम्पसमा श्रीराम महतको नेतृत्वमा अनेरास्ववियु र क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । महतले ३ सय ६१ र उनको प्रत्यासी नेविसंघका तोमलाल पन्थीले ३ सय १ मत ल्याए । २०४१ देखि नै यहाँ नेविसंघले जित्दै आएको थियो । सभापतिसहित पूरै प्यानल विजयी भएपछि अखिलका विद्यार्थीले सदरमुकाम तम्घास बजारमा पन्चैबाजासहित र्‍याली निकाले । जिल्लाका ११ क्याम्पसमध्ये अनेरास्ववियुले ३, माओवादी केन्द्र निकट क्रान्तिकारीले ३ र नेविसंघले १ क्याम्पसमा जितेका छन् । २ क्याम्पसमा निर्वाचन स्थगित भएको छ । नियमित विद्यार्थी अभावका कारण २ क्याम्पसमा निर्वाचन नै भएन ।

पराजितद्वारा आत्महत्या
स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा उम्मेदवारी दिएकी एक छात्राले बिहीबार आत्महत्या गरेकी छन् । बीबीएस प्रथम वर्षकी छात्रा २० वर्षीया रीमा क्षेत्रीले घरमा सलको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । बुधबार भएको निर्वाचनमा उनी अनेरास्ववियुकी प्रत्यासीसँग पराजित भएकी थिइन् । जिल्ला प्रहरी प्रमुख देवबहादुर बोगटीले क्षेत्रीले ‘मर्नु रहर होइन बाध्यता’ भनी लेखेको सुसाइड नेट फेला परेको जानकारी दिए ।

सिंगो कार्यसमितिमा महिला
स्ववियु निर्वाचनमा अनेरास्ववियुले पाँचवटा क्याम्पसमा नेतृत्व हात पारेको छ । कृषि क्याम्पससहित तीनमा प्यानल नै जितेको छ ।
सदरमुकाम बेंसीसहरस्थित मस्र्याङदी बहुमुखी क्याम्पसमा अनेरास्ववियुले प्यानलै जितेको छ । दुईपिप्लेमा अखिल क्रान्तिकारीले नेतृत्वसहितको पदाधिकारी जितेको छ ।

लमजुङ क्याम्पस सुन्दरबजारमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानलबाट नेविसंघका निरज दाहाल सभापतिमा निर्वाचित भए । मध्यनेपाल नगरपालिका ११ दुईपिप्लेमा रहेको पुष्पलता जनएकता बहुमुखी क्याम्पस स्ववियुको सिंगो कार्यसमितिमा महिला निर्वाचित भएका छन् । सभापतिमा अखिल क्रान्तिकारीकी संगीता भुजेल चुनिएकी छन् ।

मातृभूमि बहुमुखी क्याम्पसमा नेविसंघका रमेश ढुंगाना सर्वसम्मत चयन भएका छन् । सोतीपसलस्थित मंगला क्याम्पसमा नेविसंघको प्यानलै सर्वसम्मत निर्वाचित भएको छ । भक्ति आदर्श क्याम्पस भोटेओडारमा नेविसंघका सुशील रेग्मी सभापतिमा निर्वार्चित भएका छन् । ईशानेश्वर क्याम्पसमा नेविसंघका सुनिल भुजेल सभापतिमा निर्वाचित भएका छन् ।

देश

‘फिल्डमै नपुगी प्रभाव मूल्यांकन’

- माधव अर्याल

पाल्पा– नवलपरासीको सर्दीमा खोलिने सिमेन्ट उद्योगको कच्चा पदार्थ यहाँको ज्यामिरेबाट लैजाने योजनासहित काम अघि बढेको छ । तर, परामर्शदाताले गाउँमा नआई काठमाडौंमै बसेर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको पाइएको छ ।

जिल्ला विकास समितिले तानसेनमा राखेको सरोकारवालासँगको छलफलमा यस क्षेत्रको वातावरणीय मूल्यांकनका लागि एक दिन सार्वजनिक सुनुवाइबाहेक कसैसँग परामर्श दाताले छलफल नगरेको स्थानीयले बताए ।
‘चुनढुंगा उत्खनन गर्दा सयौं रूख ढल्ने प्रस्ट देख्न सकिन्छ,’ ज्यामिरेका अगुवा सुदन परियारले भने, ‘तर, प्रतिवेदनमा २२ वटा मात्र काट्ने भनिएको रहेछ ।’ एक रूख काटे थप २५ वटा रोप्नुपर्ने सरकारको नियम छ । परियारका अनुसार अहिले नवलपरासीको वेनीमणीपुरबाट ज्यामिरे आउने बाटोमा मात्रै सयौं रूख बाटो निर्माणमै ढालिसकिएको छ । खानी क्षेत्रको २ हजार रोपनीमा सयौं रूख छन् । प्रतिवेदनमा झूटो विवरण राखिएको स्थानीयले बताए । यहाँबाट २६ घर विस्थापित भइसकेका छन् । बाँकी सयौं घरपरिवार प्रभावित हुने उनीहरूले बताए ।

होङ्गसी शिवम् सिमेन्ट प्रालिका सहमहाप्रबन्धक शिवरत्न अटल र जनसम्पर्क अधिकृत जीवन निरौला प्रतिवेदनबारे छलफलका लागि आएका थिए । उनीहरूले असर न्यूनीकरण गर्दै स्थानीयको मागप्रति संवेदनशील हुने बताए । ‘अहिले बनेको प्रतिवेदनमा धेरै कुरा झूट छन्,’ स्थानीय मनबहादुर सारूले भने, ‘प्रतिवेदन गाउँका व्यक्तिसँग सोधेर नभई कम्पनीले भनेका कुरालाई राखेर बनाइएको छ ।’ सरकारले उक्त प्रालिलाई ज्यामिरे ८, भुटुकेमा चुनढुंगा उत्खननका लागि अनुमति दिएको छ ।

आयोजना सञ्चालनपछि ज्यामिरेको भुटुके, पिपिङी, पोखरीछाप, मठे खर्कका सयभन्दा बढी घर प्रभावित र विस्थापित हुनेछन् । विस्तृत अध्ययन नगरीकन मोटरबाटो खनेकाले वातावरणीय प्रभाव मूल्यांकनमा जथाभावी गरिएको स्थानीयले आरोप लगाए । जनसंख्या तथा वातावरण मन्त्रालयले नेस प्रालि र आईएएस प्रालिलाई परामर्शदाता नियुक्त सिमेन्ट आयोजनाको मूल्यांकन प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको हो ।

Page 6
सम्पादकीय

प्रदूषण जाँच प्रभावकारी बनाऊ

उपत्यकामा वायु प्रदूषणको मुख्य स्रोत यहाँ चल्ने सवारी साधनले फ्याँक्ने धूवाँ हो भन्ने तथ्य अध्ययनले देखाएको छ । वातावरणविद्हरू प्रदूषणको ३८ प्रतिशत स्रोत यहाँका सवारी साधनलाई मान्छन् । प्रदूषण घटाउन यहाँ चल्ने पुराना सवारी साधनलाई हटाउन पटक–पटक दबाब पर्दै आएको छ । सरकारले २० वर्ष पुराना सार्वजनिक सवारी साधन बुधबारदेखि चल्न दिएको छैन । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाले पुराना सवारी साधन हटाउन अनुगमन थाल्नु सराहनीय प्रयास हो । अनुगमनका क्रममा भेटिएका पुराना सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवानासमेत गर्ने गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरी २० वर्ष पुराना सवारी साधन रोकेको छ ।

अझै सबै सवारी साधनलाई नियमित प्रदूषण जाँच गर्ने र हरियो स्टिकर प्रणाली प्रभावकारी पाएको पाइँदैन । प्रदूषण जाँच गर्ने र तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गर्ने सवारी साधनलाई ठाउँका ठाउँ गुड्न रोक लगाउनेसम्मका कारबाही गर्न सके प्रदूूषण नियन्त्रणमा सहयोग पुग्नेछ । उपत्यकाको वायु प्रदूषण नियन्त्रणका उपायबारे कार्ययोजना तयार गर्न राष्ट्रिय योजना आयोगले ‘काठमाडौं वायु प्रदूषण नियन्त्रण कार्यदल’
बनाएको थियो ।

वातावरण, स्वास्थ्यविज्ञ लगायत सरोकारवाला निकायका प्रतिनिधि आबद्ध उक्त कार्यदलले उपत्यकालाई वायु प्रदूषणबाट मुक्त गराउन तत्काल गर्न सकिने १२ वटा कामको सूची बुझाएको पनि एक महिना बितेको छ । कार्यदलले वर्षौंदेखि चलिरहेको सडक विस्तार, मेलम्ची खानेपानीको पाइप बिछ्याउने लगायत निर्माणलाई वातावरणमैत्री र दिगो बनाउन सुझाएको छ । उपत्यकाभरि फोहोर संकलन प्रभावकारी बनाउन महानगर र नगरपालिकालाई सक्रिय बनाउने, खुला ठाउँमा फोहोर जलाउन प्रतिबन्ध लगाउने, स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापन गर्न स्वास्थ्य विभाग र अस्पताललाई कडिकडाउ गर्न सकिए वातावरण सुधार हुने कार्यदलको सुझाव छ । सडकमा धूलो नियन्त्रण गर्न मेलम्चीको पाइपलाइन बिछ्याउन खनिएको सडक पुर्न र कालोपत्रे गर्न समयसीमा तोक्नुका साथै खनिएको सडकमा पानी छर्कने व्यवस्था मिलाउनुपर्छ ।

खनिएको सडकमाथि सवारी गुड्न रोकेर वैकल्पिक बाटोको प्रयोग गर्न सकिए पनि धूलो नियन्त्रण हुनेछ । पुराना सवारी साधनको नियमन गर्न सकिए पनि धूवाँ नियन्त्रण भई प्रदूषण न्यून हुन सहयोग पुग्ने विशेषज्ञहरूको सुझाव छ । त्यसका लागि यातायात विभाग, ट्राफिक प्रहरी महाशाखा र वातावरण विभागबीच सहकार्य आवश्यक छ । वातावरण विभागमा रहेका १८ जना वातावरण निरीक्षकलाई पनि सवारी साधनको प्रदूषण जाँचमा खटाउन सकिए अझ प्रभावकारी हुनेछ । सवारी जाँचका लागि नयाँ उपकरण र प्रविधिको समेत प्रयोगमा ढिलाइ गर्नु हुँदैन । निजी डिजेलयुक्त गाडीमा करको दायरा बढाउनुका साथै युरो–४ समानस्तरको इन्धन र सवारी साधन आयात गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
सरकारले तोकिएको क्षमताभन्दा बढी भार बहन गर्ने मालबाहक गाडीलाई कारबाहीको व्यवस्थालाई पनि प्रभावकारी पार्नुपर्छ । सँगै विद्युतीय तथा हाइब्रिड सवारी साधन प्रवद्र्धनमा जोड दिई विद्युतीय सवारी साधन, आवश्यक उपकरण, ब्याट्री तथा पार्टपुर्जामा लाग्दै आएको भन्सार शुल्क घटाउने र हाइब्रिड सवारी साधनलाई पनि सहुलियत दिन सकिए स्वत: कम प्रदूषण हुनेछ । विद्युतीय सवारीमा सचेतना फैलाउन राजनीतिक नेता तथा सरकारी उच्च पदस्थ अधिकारीलाई विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनसके सक्षम र सर्वसाधरण पनि त्यस्ता सवारी साधन प्रयोगतिर आकर्षित हुनेछन् । लामो दूरीमा समेत विद्युतीय सवारी प्रयोग गर्न सक्ने गरी सहरी क्षेत्रको विकास आवश्यक छ । त्यसका लागि राजमार्गमा छिटो चार्ज हुने स्टेसन बनाउन सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ । सवारी चाप घटाउन स्कुल र कार्यालयको सवारी साधनको गुड्ने समय तोक्न सकिए यात्रा सुलभ हुनेछ ।

भविष्यमा उपत्यकालाई यातायातमा सहज बनाउन सुहाउँदो प्रदूषणरहित मास ट्रान्जिट सिस्टमको विस्तृत अध्ययन गर्न पनि कञ्जुस्याइँ गर्नु हुन्न । प्रदूषणरहित सार्वजनिक सवारी साधनको संख्या बढाउन विशेष अनुदानको व्यवस्था गर्न सकिए त्यस्ता सवारी साधनमा ध्यान जानेछ र प्रदूषण कम गर्ने सवारी साधन चल्नेछन् । मालबाहक र ठूला सवारी साधनलाई तोकिएको समयमा बाहेक अन्य समयमा आउजाउमा रोक लगाउने, उपयुक्त स्थानमा ट्रक तथा बस टर्मिनलको व्यवस्था गरिए सडकको चाप घट्नेछ र सार्वजनिक सवारी साधन सहजपूर्वक चल्दा जनजीवन सहज बन्नेछ । उपत्यकामा साइकल चलाउन प्रोत्साहन गर्न साइकल लेन बनाउन र साइकल पार्किङको व्यवस्था गर्नेतिर पनि ध्यान दिनुपर्छ । उपत्यकाका इँटाभट्टा र अन्य उद्योगबाट उत्सर्जन हुने धूलो तथा धूवाँ न्यूनीकरण गर्न स्वच्छ प्रविधिमा जोड दिन, इँटा उद्योगबाट उत्सर्जन हुने धूलो तथा धूवाँको मापदण्डको स्तरोन्नति गर्न र इँटाभट्टा र ब्वाइलरजस्ता प्रदूषण गर्ने स्थानको अनुगमन नियमित गर्न सकिए पनि प्रदूषण नियमन हुने अपेक्षा छ ।

दृष्टिकोण

चीन–भारत ‘स्ट्राटेजिक डायलग’ र हाम्रो कूटनीति

- ध्रुव कुमार

चीन र भारतबीच ऐतिहासिक सीमा विवाद बाहेक द्विपक्षीय, बहुपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा छलफल तथा वार्ता जारी रहेको छ । यसै सिलसिलामा दुई मुलुकबीच संवेदनशील राष्ट्रिय मुद्दामा विचार विमर्शको निम्ति आपसी सम्पर्क र संवाद बढाउँदै लैजान नयाँ चरणको ‘स्ट्राटेजिक डायलग’ (राणनीतिक संवाद) थालनी गर्ने गत वर्षको सहमति अनुसार ती दुई मुलुकबीच यही फागुन ११–१२ गते बेइजिङमा द्विपक्षीय वार्ता सम्पन्न भएको छ । वास्तवमा भारतसित सम्बन्ध विस्तार गर्ने क्रममा बीसौं शताब्दीको अन्तिम वर्षहरूमा अमेरिकी कूटनीतिज्ञहरूले ‘स्ट्राटेजिक डायलग’ शब्दावलीको कूटनीतिक संवादमा पहिलो पटक प्रचलनमा ल्याउँदै उच्चारण गरेका थिए । यसको तात्पर्य उच्चस्तरमा नियमित सम्पर्क कायम गर्दै विभिन्न पक्ष सम्बन्धित भविष्यमुखी संवाद समष्ठी रूपमा गर्दै परस्परमा समझदारी बढाई क्षेत्रीय शान्ति र स्थिरता बढाउन सघाउने उद्देश्यले उक्त शब्दावली प्रयोग गरिएको थियो । प्रसंगवश चीन र भारतबीचको सम्पर्क, संवाद र समझदारीको सत्प्रयासले यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राख्न सकिन्छ । यसैले पनि यस पहिलो चरणको रणनीतिक संवादले बृहद् समझदारीसितै नौलो परिवेश उघार्ने सम्भावना थियो । तर, द्विपक्षीय संवाद उपयोगी भए पनि अपेक्षाकृत फलदायी भएन । यथार्थमा रणनीतिक संवादको उद्देश्य द्विपक्षीय तनाव घटाउनुमा निहित थियो तर यसो हुन सकेन ।

भारतीय विदेश सचिव एस जयशंकरले आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै बेइजिङ पुगेर चीनका स्टेट काउन्सिलर तथा सीमा वार्ताको निम्ति नियुक्त विशिष्ट प्रतिनिधि याङ जेइचीका साथै विदेशमन्त्री वाङ यीसित छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय साझा हितबारे छलफल गरेका थिए । चीनले आतंकवादविरुद्ध लिएको अति नै दृढ सैद्धान्तिक अडानकै आधारमा दुई मुलुकबीच सहकार्य हुनुपर्ने धारणा जयशंकरले राखेका थिए । भोलिपल्ट सुरु भएको रणनीतिक संवादको औपचारिक सत्रमा चीनका वरिष्ठ कार्यकारी उपमन्त्री चाङ ये सुईले प्रतिनिधित्व गरेका थिए । उनी चिनिया कम्युनिस्ट पार्टीको विदेश मन्त्रालय संकायको प्रमुख पनि हुन् । द्विपक्षीय वार्तामा उच्चस्तरीय कूटनीतिक प्रतिनिधिहरूको संलग्नताले रणनीतिक संवाद निश्चय पनि ओजपूर्ण रहेको थियो । तर, यो पहिलो संवादले कूटनीतिक शिष्टता र सदाचारको अभिव्यक्ति बाहेक द्विपक्षीय तीक्तता घटेको सन्देश भने दिन सकेन ।

भारतीय विदेश सचिव जयशंकरले रणनीतिक संवादमा चीनसमक्ष राखेका आफ्नो मुलुकको चासोमध्ये तीन मुद्दा द्विपक्षीय मात्र नभई क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धलाई नै प्रभावित गर्ने खालका छन् । यसले गर्दा ती दुई मुलुकबीच विवाद बढेको छ । हुन त ब्रिक्सदेखि विभिन्न क्षेत्रीय संरचना तथा वित्तीय संस्थाहरूमा सहभागिताद्वारा ती दुवै मुलुकले विकास कार्यमा अग्रणी भूमिका खेल्दै आएका छन् । तैपनि भारतको चीनसितको सम्बन्ध रणनीतिक संवादमा उठाइएका तीन प्रसंगबाटै निर्धारित हुने निश्चित छ । त्यसमध्ये पहिलो, आतंकवादको प्रसंग, दोस्रो भारतको न्युक्लियर सप्लायर्स ग्रुपको सदस्यताको सबाल र तेस्रो चीन प्रस्तावित ‘वान बेल्ट वान रोड’ योजनामा भारतको सहभागिताको प्रश्न । यी तीनै प्रसंगमा चीन जसरी जोडिएको छ त्यसमा कुनै न कुनै तवरबाट पाकिस्तान कारक तत्त्व भएको छ । यसले गर्दा चीन–भारत र पाकिस्तानको त्रिकोणात्मक सम्बन्धले क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीति प्रभावित भएको छ । तर, रणनीतिक संवादमा जुन प्रसंग उठ्यो तीमध्ये कुनै पनि नौलो होइन । जस्तै : पाकिस्तानमा निस्फिक्री बस्दै आएको जैश–ई–मोहमद संगठन प्रमुख मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषित गरी बन्देज लगाउन भारतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई गुहार्दा चीन भने सहमत भएन र उक्त प्रस्ताव उसै तुहियो । अजहर सन् १९९९ मा काठमाडौंबाट उडेको इन्डियन एयरलाइन्सको आईसी ८१४ हवाईजहाज अपहरणपछि तत्कालीन अटलविहारी बाजपेयी सरकारले विमान यात्रुहरू छुटाउने क्रममा भारतीय जेलबाट अरू तीन जनासहित साटेको अपराधकर्मी वा आतंकी हुन् । अहिले नरेन्द्र मोदी सरकारले उसमाथि पोहोरको पठानकोटको वायुसेनाको अखडा र उरी सैनिक छाउनीमा आतंककारी हमलाको प्रमुख योजनाकार रहेको आरोप लगाएको छ । सुरक्षा परिषद्का स्थायी र अस्थायी सदस्य राष्ट्रहरू भारतसित सहमत भए पनि चीनले आरोपको पुष्टि चाहेको छ ।

दोस्रो, भारतको न्युक्लियर सप्लायर्स ग्रुपको सदस्यता दाबीको कारण चीनसित विवादको अर्काे आयाम थपिएको छ । संयुक्त राज्य अमेरिकाले चीनलाई कजाउने नियतिकै कारण आणविक अप्रसारण सन्धिमा हस्ताक्षर नगरेको भारतलाई उक्त समूहको सदस्यताको निम्ति समर्थन गरे पनि उक्त प्रसंग द्विपक्षीय नभई बहुपक्षीय भन्दै चीन पन्छिएको छ । सन् १९७४ मा भारतले पोखरान मरुभूमिमा पहिलोपल्ट आणविक परीक्षण गरेपछि परमाणु शक्तिको शान्तिपूर्ण प्रयोग (जस्तै : विद्युत् उत्पादन) का लागि प्रविधि हस्तान्तरण गरे पनि त्यसैको माध्यमबाट आणविक अस्त्र बनाउन सक्ने प्रमाणित भएकाले न्युक्लियर सप्लायर्स ग्रुपको स्थापना गरेको थियो । अहिलेको विद्यमान समूहमा नयाँ मुलुकले सदस्यताको निम्ति केही प्रावधान पूरा गर्नुपर्ने हुन्छ । त्यसमध्ये एक परमाणु अस्त्र अप्रसार सन्धिमा हस्ताक्षर गर्नुका साथै नरसंहारक आणविक अस्त्र र त्यसको प्रयोग गर्ने साधन क्षेप्यास्त्रको परीक्षण रोक्न कटिबद्ध हुनुपर्छ । भारतले ४८ राष्ट्रिय उक्त समूहको सदस्यताका निम्ति आवेदन दिएपछि पाकिस्तानले पनि गत मे २०१६ मा निवेदन दिएको छ । सबै सदस्य राष्ट्रहरूबीच सहमतिबिना कुनै पनि नयाँ निवेदकले प्रवेश पाउने प्रावधान छैन । भारत र पाकिस्तान दुवै आणविक अस्त्र अप्रसार सन्धि सदस्य राष्ट्र होइनन् । तसर्थ यी दुईमध्ये एकको सदस्यता मात्र मान्य हुन सक्ने छैन । यसबारे भारत अनभिज्ञ छैन तर ऊ पाकिस्तानसित दाँजिन नचाहेकैले आफ्नै मात्र सदस्यताको दाबी गर्दैछ । यदि भारतले मात्र सदस्यता प्राप्त गरे यस क्षेत्रमा आणविक अस्त्रको होड अवस्यंभावी छ भनी पाकिस्तानले चेतावनी दिए पनि अमेरिका भने भारतको पक्षधर भएको छ । तर, चीनको समर्थनबिना भारतको दाबी सफल हुने झिनो आशा पनि रहँदैन ।

तेस्रो, भारतीय विदेश सचिव जयशंकरले रणनीतिक संवादमा स्पष्ट गरेको चासो अति संवेदनशील सार्वभौमिकताको मुद्दा सम्बन्धित छ । उनले ‘साइनो–पाकिस्तान इकोनोमिक करिडोर’ (सीपीईसी) योजनाको काम भारतको दाबी रहेको पाकिस्तान अधीनस्थ काश्मिरी क्षेत्रबाट गुज्रिने हुनाले त्यसप्रति आफ्नो आपत्ति जनायो र भन्यो यही कारणले गर्दा चीनद्वारा प्रस्तावित ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) योजनामा सहभागी नहुने निर्णय गरेको छ । यो प्रसंगलाई स्पष्टसित राखेर भारतले काश्मिरको भूभागमा आफ्नो संवेदनशील सार्वभौम अधिकारको दाबी मात्र गरेन, त्यस विवादित क्षेत्रमा चीनको उपस्थितिलाई आपत्तिजनक ठहर्‍याउँदै त्यसको उपेक्षा गर्दा नै चीन र भारतको भविष्यमुखी सहकार्य र समझदारीमा बाधा पुर्‍याएको तथ्य पनि खुलायो । कूटनीतिमा स्पष्टवादिताको पनि आफ्नै महत्ता हुन्छ । भारतले रणनीतिक संवादमा प्रस्तुत गरेको धारणा निश्चय पनि उसको आफ्नै स्वार्थ अनुकूल थियो । तर, मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादको कठघरामा उभ्याउन, न्युक्लियर सप्लायर्स ग्रुपको सदस्यता हासिल गर्नुसितै चीनको ‘बेल्ट र रोड’ प्रयासमा सहभागी नहुनुको कारण बुझाउन निरन्तरको सम्पर्कद्वारा चीनसित धैर्य तथा संयमित तर स्पष्ट संवाद जारी राख्नु बाहेक अरू उपाय पनि त छैन । यही उपाय कालान्तरमा भारतका लागि लाभप्रद पनि हुन सक्छ ।

चीन र भारतबीचको रणनीतिक संवाद र द्विपक्षीय अन्तरक्र्रिया तत्कालको निम्ति निष्कर्षहीन भए पनि यसबाट हामीले के र कस्तो पाठ सिक्यौं त जसको कूटनीतिक उपयोगिता होस् । पहिलो कुरा त हामीले आफ्नो राष्ट्रिय स्वार्थ अनुरूपको उद्देश्यलाई द्विपक्षीय वार्ताद्वारा अघि बढाउन आफ्ना दुवै निकट छिमेकीहरूसितको सम्बन्धमा विश्वसनीयता कायम गर्न सकेका छैनौं । यस स्थितिले गर्दा हाम्रो आन्तरिक र बाह्य चुनौती थपिएका छन् । हाम्रा दुई छिमेकीहरूबीचको गतिशील सम्बन्धको उतार–चढावबाट हामी निसृप्त त कदापि रहने छैनौं । तर ‘समदूरी’, ‘सन्तुलित’ अनि ‘असन्तुलित’ नीतिजस्ता व्यवहारमा सारहीन भाष्यको प्रयोग गरेर राजनीतिक नेतृत्व वर्गले तजबिजी निर्णयद्वारा जसरी द्विपक्षीय सम्बन्ध कायम गरेका छन् त्यसको प्रत्यक्ष असर मुलुकको सार्वभौम अस्तित्वमै परेको छ । हाम्रो आन्तरिक राजनीतिमा देखापरेको र दिनानुदिन हाबी हुँदै गएको दलीय स्वार्थजन्य अभ्यासकै कारण राष्ट्रिय हित र स्वार्थका मुद्दा ओझेल पर्दै गएका छन् । त्यसैले हाम्रो कूटनीति प्रभावहीन भएको छ । यसको दृष्टान्त हामीले भोगिसकेका छौं । हाम्रो कूटनीतिक नियोगमा रहेका प्रतिनिधिहरूले जब बेलायतजस्तो २०० वर्ष लामो सम्बन्ध भएको मुलुक तथा युरोपियन युनियनको मुख्यालयमा भारतीय नाकाबन्दीबारे साँचो कुराको जानकारी दिन सकेनन् त्यहाँबाट भारतसित जारी गरिएका संयुक्त वक्तव्यले नेपालको आन्तरिक मामिलामा नै हस्तक्षेप गर्‍यो ।

अर्काे कुरा, नेपाली राजनीतिमा भारतको अकल्पनीय प्रभाव रहेकै कारण हाम्रो कूटनीतिसमेत प्रभावित भएको छ र हामीले स्वतन्त्र निर्णय क्षमता गुमाएका छौं । फलस्वरूप, चीनसित भए गरिएका समझदारी र सम्झौतालाई ‘सन्तुलित’ परराष्ट्र नीतिद्वारा लत्याएका छौं । नेपालले चीनको ‘वान बेल्ट, वान रोड’ योजनाको प्रस्ताव स्वीकार्न अझै ढिलाइ गर्नु साथै प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ गते सम्पन्न हुने स्थानीय चुनावको निहुँ देखाई जेठमा आयोजना गरिने ‘ओबीओआर’ सम्मेलनमा भाग लिन बेइजिङ नजाने निर्णय गर्नुले पछाडि उक्त प्रस्तावप्रतिको उदासीनता नै झल्काउँछ ।
अझ अर्को महत्त्वपूर्ण कुरा, व्यक्तिगत अहम र स्वार्थवश हाम्रा नेताहरूले राज्य सञ्चालन कार्यमा संस्थागत प्रक्रिया नष्ट गरेका छन् । यसको प्रभाव राजदूत नियुक्तिका क्रममा कूटनीतिक निकायमा समेत परेको छ । यदि मुलुकको प्रतिनिधित्व गर्ने र मुलुकको मर्यादा र पहिचानलाई प्रतिविम्बित गर्ने राजदूतहरूको नियुक्तिको निर्णयमा सम्बन्धित मन्त्रालय नै अनभिज्ञ रहेको तथ्य सार्वजनिक हुन्छ भने नेपालको कूटनीतिक निकायहरूको दूरवस्था सजिलै आँकलन गर्न सकिन्छ । कूटनीतिक सन्दर्भमा निर्णय लिँदा यदि परराष्ट्र मन्त्रालय नै असान्दर्भिक हुन्छ भने भागबन्डामा रमाएका हाम्रा नेताहरूलाई न संसद्को सहमति आवश्यक छ, न जनमतको कदर, न लोकलाजको चिन्ता । यहाँ यो सन्दर्भ उठाउनुको कारण के भने जब भारतका विदेश सचिव आफ्नो राष्ट्रिय हित र स्वार्थको अडान लिई आधिकारिक तवरबाट संवेदनशील वार्तामा संलग्न हुन सक्छन् भने हाम्रो
आफ्नो परराष्ट्र सचिवको हैसियत भने अहिले सिफारिसमा परेका राजदूतहरूको स्वीकार्यताका निम्ति सम्बन्धित मुलुकहरूमा पठाउन ‘एग्रिमो’ पत्र मस्यौदा गर्ने तहमा झरेको छ ।

नेपाली इतिहासमा राष्ट्रिय संरचनाका संस्थाहरू यसरी कहिल्यै ध्वस्त भएका थिएनन् । के यस्तो अवस्थामा पुगेका हामीले आफ्नो राष्ट्रिय हितको सम्बद्र्धन र संरक्षणका निम्ति कूटनीतिक अग्रसरताका साथै छिमेकीहरूसित बराबरीको हैसियतले स्पष्ट वार्ता गर्न सकौंला ? भारतीय विदेश सचिवले काश्मिरी भूभागभित्र चिनियाँ उपस्थितिको विरोध गरेझैं के हामीले पनि लिपुलेक र कालापानी माथिको सार्वभौमिक संवेदनशीलताबारे प्रत्यक्ष अडान राख्न सकौंला ? सीमा मिचाइ, तटबन्ध र बाँधका कारण सीमाञ्चलको नेपाली भूभाग तथा बस्ती नै डुबानमा परी धनजनको क्षति हुने गरेको बारे द्विपक्षीय वार्तामा स्पष्ट अडान लिन सकौंला ? सारांशमा, के हाम्रो कूटनीति राष्ट्रिय हितप्रति समर्पित हुन सक्ला ?

पाठक मञ्च

महिला सहभागिता उत्साहजनक

नेपालमा महिलाहरूको अवस्था एसियाका देशहरूमध्ये अग्रस्थानमा रहेको पढ्न पाउँदा खुसी लाग्यो । संविधान सभा, न्यायपालिकाको प्रमुख लगायत देशको सर्वोच्च पद राष्ट्रपतिमा समेत महिला भएको स्थितिले पनि यसको पुष्टि गर्छ । स्थानीय निकायमा समेत महिलाहरूको सम्मानजनक सहभागिताको व्यवस्था गरिएको छ । महिलाहरू स्वयं पनि अगाडि आउन प्रयासरत रहेको कुरा निजामती सेवा प्रवेशका लागि पुरुषभन्दा २१५ बढी महिलाले दर्ता गराएका आवेदनबाट प्रमाणित हुन्छ ।

समावेशी सहभागिता अनुसार महिलाको हरेक क्षेत्रमा बढिरहेको सहभागिता एकदमै उत्साहजनक छ । तर, अझै महिला हिंसा र उत्पीडन घटेको छैन । दूरदराजको ग्रामीण परिवेशमा महिलाप्रतिको दृष्टिकोणमा खासै परिवर्तन भएको छैन । घरेलु हिंसाका घटनामा खासै कमी आएको छैन । महिलाबाटै परिवारभित्र महिला प्रताडित भएका घटना यदाकदा आइरहेका हुन्छन् । जबसम्म परिवार, पति र समाजबाट महिलाहरूको त्याग, सेवा र समर्पणको उचित सम्मान र मूल्यांकन हुँदैन आधा आकाशको विस्तारले पनि आशान्वित गति लिन सक्दैन ।
महेन्द्रसिंह बम
टीकापुर–९, कैलाली

  • नवनेता मिश्रलाई शुभकामना
    पत्रकार रवीन्द्र मिश्रले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेको बारे बिहीबारको पाठक–मञ्चमा केही प्रतिक्रिया पढेपछि सक्सक् लाग्यो । नेपाल प्रेस इन्स्टिच्युटबाट पत्रकारितामा प्रशिक्षित भएका नाताले पनि मलाई यो सक्सक् लागेको हुनसक्छ । जे होस्, पत्रकारितामा राम्रो पहिचान बनाइसकेका मिश्रले त्यसलाई चटक्क छाडी राजनीतिमा प्रवेश गरेको घोषणा गर्नु एक रोचक पक्ष हो, राजनीतिको आडमा पत्रकारिता र पत्रकारिताको आडमा राजनीति गर्नेहरूको बिगबिगी भइरहेको मुलुकमा । यद्यपि उनको पनि सार्वजनिक जीवनको आधार भनेको पत्रकारिता र सामाजिक कार्य नै हो ।

    राजनीति र पत्रकारिताको सम्बन्ध नौलो होइन । महात्मा गान्धी, जवाहरलाल नेहरू, सुभाषचन्द्र बोस आदि महान् नेताहरूले पनि सक्रिय पत्रकारिता गरेका थिए । मिश्रको राजनीति प्रवेशलाई अनेकौं कोणबाट विश्लेषण गरिनु अस्वाभाविक होइन । मुख्य कुरो, उनको राजनीति प्रवेशपछाडिको मूल कारण के हो ? उनलाई राजनीति गर्ने रहर लागेर हो वा नेपालको राजनीतिक परिवेशले उनको माग गरेर हो ? यसमा उनी स्वयम् र उनलाई यो नयाँ यात्रामा साथ दिन्छु भन्नेहरू स्पष्ट हुनु जरुरी छ । यदि नेपालको विद्यमान राजनीतिक परिवेशलाई सुधार्छु भनेर आएको हो भने त्यो नयाँ कुरा होइन । नेपालका प्रत्येक नयाँ पार्टीले त्यसै भन्ने गरेका थिए र छन् । नेपालमा औसत १० वर्षमा राजनीतिले कोल्टे फेर्ने गरेको छ तर प्रत्येक पटक नेपाली जनता ठगिएका छन् वा झुक्किएका छन् । यदि मिश्रले राजनीतिलाई सुधार्छु भन्ने हो भने त्यो कोल्टे फेर्ने समयलाई छोटयाएर नयाँ प्रणालीका लागि सकेसम्म छिटो बाटो खोलिदिन सक्नुपर्छ । अन्यथा, अहिलेकै प्रणालीमा हेलिने हो भने त एक सयभन्दा बढी पार्टीको सूचीमा अर्को एउटा थपिने मात्र हुन्छ । नेपालका सबै क्षेत्र र पक्षले आफ्नो भावनाको पनि कदर भएको महसुस गर्ने नयाँ प्रणाली ल्याउन धेरै फलामको च्युरा चपाउनु पर्छ ।
    श्रीरामसिंह बस्नेत
    वनस्थली, काठमाडौं

    पत्रकार रवीन्द्र मिश्रले पार्टी खोलेको समाचार आएपछि भोलिपल्टै पाठक पत्रमा धेरै जना महानुभावले मिश्र कहलिएका पत्रकार भएकाले आफ्नो साख गिराउन राजनीतिको फोहरी खेलमा सहभागी नभए हुन्थ्यो भन्ने प्रतिक्रिया पठाएको पाइयो । सबैलाई आ–आफ्नो रहर हुन्छ, पत्रकार मिश्रलाई पनि देशभरिको भोटबाट एउटा समानुपातिक माननीय बन्ने र घरी कुन पार्टी त घरी कुन नेताको समर्थन गरेर मन्त्री पड्काउने दाउ होला । त्यसैले त्यो पत्रकारको जागिरभन्दा त माननीयको जागिर राम्रो देखेर पार्टी खोल्न लाग्नुभएको होला ।
    रामचन्द्र अर्याल
    गल्छी, धादिङ

    भारतको आम आद्मी पार्टीका बारेमा हामी घेरैले सुनेका छौं, पढेका छौं । यसका मुख्य राणनीतिकार अरविन्द केजरीवालले आफ्नो पार्टीलाई एकैपल्ट पूरै भारतको चुनावमा प्रतिस्पर्धा नगराई दिल्लीलाई मात्र लक्ष्य बनाए र सफल भए । बल्ल यसपाली आएर गोवा र पञ्जावको चुनावमा पार्टीलाई झाेंकेका छन् । हो, यही रणनीतिबाट हाम्रा रवीन्द्र मिश्र अगाडि बढ्न सके मात्र उनले सफलता पाउन सक्लान् । होइन, एकैपल्ट नेपाल नै जित्ने गरी आफनो पार्टीलाई अगाडि बढाए मिश्रको नयाँ पार्टी त्यसै हराएर जानेछ । मिश्र र उनको टिमलाई चिन्ने भनेको सहरिया पढेलेखेका मानिस हुन् । गाउँघरमा उनीहरूलाई चिन्ने जान्ने बिरलै छन् । गाउँघरमा मतपत्र खरिद–बिक्री हुने गर्छ । तर सहरमा मत्रपत्र र मतदाता खासै बिकाउ हँुदैनन् । उनीहरू विवेक चलाएर मतदान गर्छन् । यसर्थ मिश्रको प्रस्तावित नयाँ पार्टीले आगामी चुनावमा पहिले राजधानी र मोफसलका केही सहरलाई मात्र आफ्नो आधारभूमि बनाउँदा सफलता हात लाग्न सक्छ । आम आद्मी पार्टीबाट उनीहरूले सिक्न सक्नुपर्छ ।
    गोपाल देवकोटा
    चाबहिल, काठमाडौं

     
  • मधेसी दलसँग वार्तामा बस
    यथास्थितिमा गर्न लागिएको स्थानीय तहको निर्वाचनमा सबैको अपनत्व हुन जरुरी छ । नेपालमा भएका सबै जाति, वर्ग र क्षेत्रका जनताको सहभागितामा गरिएको निर्वाचनले लोकतन्त्रको भविष्य सुनिश्चित गर्न सक्छ । अमुक व्यक्ति तथा पार्टीका मानिसलाई खुसी पार्ने प्रयोजनका लागि नभएर सबै क्षेत्रका नेपालीको प्रतिनिधित्व पहिलो आवश्यकता हो । अहिलेको अवस्थामा सरकारले विगतमा गरेको सम्झौता अनुरूप संविधान संशोधन नभएसम्म चुनावमा नजाने भनी विरोध गरिरहेका छन् । यस्तोमा उनीहरूको न्यूनतम मागमा सुनुवाइ हुनुपर्ने देखिन्छ । सरकार होस् वा प्रतिपक्षी दल एमाले नै किन नहोस् सबैले सबैको संलग्नतामा चुनाव सम्पन्न गराउने अभिभारा लिनुपर्ने हुन्छ । कुनै पनि दल वा जाति विशेषले विभिन्न बहानामा अपूरो अधुरो निर्वाचन भन्ने अवस्था बाँकी राख्नु भनेको फेरि पनि अशान्तिको लहर सिर्जना गर्नु मात्र हो । संविधान कार्यान्वयनको जगमा एक जना नेपालीले पनि अब दु:ख पाउनु हुँदैन । यतिबेला सरकार सम्बद्ध दल र एमालेको ध्यान निर्वाचनतर्फ मात्र केन्द्रित भएको छ । बेला छँदासम्म निदाएर बस्ने अनि बेला घर्केपछि पछुताउने प्रवृत्तिबाट उम्कनका लागि अविलम्ब वार्तामा बस्नुको विकल्प छैन । सबैको अपनत्व हुने सर्वोपरि संविधान कार्यान्वयन र निर्वाचनको मार्ग पहिचान गर्न सबैको ध्यान आकर्षण हुन सकोस् ।
    – गोविन्द रिमाल
    गैंडाकोट नगरपालिका–५, नवलपरासी

     
  • मन्त्रीहरूलाई सकस


    निर्वाचन घोषणा भएकै दिन निर्वाचन आचारसंहिता लागू गर्ने पद्धति भए पनि निर्वाचन आयोगले यसपटक त्यो पद्धतिको उल्लंघन गर्दै केही ढिला गरेरै भए पनि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने कुरा मन्त्रीहरूलाई जानकारी गराएको छ । तर, निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति अधिकांश मन्त्रीको असन्तुष्टि रहेको कुरा छापामा आएको छ । आगामी वैशाखमा हुन लागेको निर्वाचन स्थानीय तहको निर्वाचन हो ताकि कुनै पनि पार्टीका मुख्य नेताले गाउँगाउँमा गएर भोट माग्नुपर्ने मध्यावधि वा आमनिर्वाचन होइन । तर, पनि स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि गाउँगाउँ जानका लागि लाखौंको खर्च गर्न र हेलिकप्टर चढ्न पाउनुपर्छ भन्ने मन्त्रीहरूको माग निर्वाचन आयोगमा बुधबार भएको कार्यक्रमा सुनियो । विगतमा पनि निर्वाचन आयोगले यस्ता आचारसंहिता लागू नगरेको होइन तर नेताहरूले त्यसको पालना गरेका थिएनन् । तैपनि कारबाही भएको पाइएको थिएन । यसपालि त झन् निर्वाचन आयोगले लागू गरेको आचारसंहिताको मन्त्रीहरूले सीधै विरोध गरेका छन् । निर्वाचन घोषणा भइसकेपछि सरकारसमेत निर्वाचन आयोगको नियन्त्रणमा रहनुपर्ने विज्ञ तथा पूर्वनिर्वाचन आयुक्तहरूले बताएका छन् तर निर्वाचन आयोगले सरकारलाई नियन्त्रण गर्न सकिरहेको छैन । यदि निर्वाचन आयोगले कुनै पनि दलको छायाँमा परेर काम नगरी निष्पक्ष निर्वाचन गर्ने हो भने आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्छ र निर्वाचनलाई मर्यादित बनाउन सक्नुपर्छ । अन्यथा कुनै पनि दलको छायाँभन्दा बाहिर निर्वाचन आयोग पनि रहन सकेको पुष्टि हुने छैन ।
    सुजन देवकोटा
    पालुङ्टार–८, गोरखा

     
  • यथार्थपरक लेख
    फागुन १८ गते प्रकाशित राजेन्द्र महर्जनको ‘समाजलाई अल्यमलाउने कि फेर्ने ?’ यथार्थपरक लाग्यो । कला र साहित्यको समाज चिन्तनले अवस्य हाम्रो समाजलाई फेर्न सघाउनेछ । विवेकानन्दले आफ्नो धार्मिक चिन्तनले अंग्रेजविरुद्घको समाज रचना गरेका थिए । ३००० वर्षदेखिको ब्राह्मण वर्चस्व दक्षिण एसियाको यथार्थ हो । यसलाई माक्र्सवादको वर्ग चिन्तनले मात्र समाधान गर्न सक्दैन । त्यसैले नेपालका केही माक्र्सवादी पनि वर्ण र पहिचानका कुरा गर्छन् । तर, घनश्याम भुसालजस्ता अधिकतर माक्र्सवादी यो कुरा रुचाउँदैनन् । त्यसैले ती सबै एकल वर्चस्ववादका हिमायती बनेका छन् । उनीहरूले आफ्नो भोट बैंकलाई ध्यानमा राखेर समाजलाई अल्मलाउने काम मात्र गरेका छन् । लेखकले बुद्घलाई समाज वैज्ञानिक भनेको कुरा बिल्कुल सही लाग्यो । बुद्घको सामाजिक चिन्तन आज पनि उत्तिकै सान्दर्भिक छ ।
    डा. शिवशंकर यादव
    छप्कैया–२, वीरगन्ज

     
  • चुनावको अन्योल
    ‘चुनाव भएरै छाड्छ’ र ‘संशोधन नगरी हुन दिन्नांै’ भन्ने दुइटा परस्पर विरोधी समाचारले कतै चुनाव नहुने त होइन भन्ने आशंका उब्जायो । ती समाचार संविधान संंशोधनसित नै जोडिएका छन् । सत्तारुढ दलका नेताहरू र फोरमका नेताहरूलाई दुई तिहाई मत पुग्दैन भन्ने थाहा हुदाहुँदै पनि संशोधन प्रस्ताव किन टेबुल गरेका हुन् यो नै रहस्यपूर्ण छ । संसद्मा रहेको प्रस्तावमा सतारुढ दलका केही सांसद र मोर्चाबाट थप संशोधन प्रस्ताव पर्नु तर पारित हुने सम्भावना नरहनुले यो राजनीतिक खेल झन् रहस्यमय बनेको छ । नेपाली कंग्रेस र मावोवादी केन्द्रको दलीय अवधारणालाई केन्द्रीय समितिबाट पारित नगर्नु संशोधन प्रस्ताव पास हुने संख्या नपुग छ भन्ने जानेर पनि संसद्मा टेबुल गर्नुले यो कस्तो राजनीतिक निर्णय हो बुझ्न सकिएन ।
    भरत अधिकारी
    सैंबु कार्यविनायक नपा, ललितपुर

     
  • उपलब्धि नगुमोस्
    सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बालुवाटार बैठकको निष्कर्ष सुनाउँदै ‘संविधान संशोधन नगरी गरिने निर्वाचनमा भाग पनि लिन्नौं, हुन पनि दिन्नांै’ भनेको कुरा आफंैमा अनौठो छ । संविधान संशोधनको विषय अहिले जसरी जेलिएको छ, त्यसबाट तत्काल संशोधनको सम्भावना नभएको स्पष्ट हुन्छ । यस्तो अवस्थामा संविधान संशोधनको विपक्षमा उभिएका दलहरूलाई विश्वासमा लिन पनि नसक्ने, हुनै नसक्ने कुराको अत्तो थापेर निर्वाचन बिथोल्ने कुरा गर्नु भनेको संविधानले तोकेको नेपालीे नागरिकको कर्तव्यलाई बिर्सेर गरिने कुरा राजनीतिक दलका नेताहरूबाट हुनु त्यसै पनि राम्रो हुन्न । बरु २०७४ माघ ७ सम्म हुनुपर्ने तीन चरणका निर्वाचन हुन नसक्दा हालसम्मकै राजनीतिक उपलब्धि गुम्ने डरलाई मध्यनजर गर्दै संसद्बाट निर्णय हुने संविधान संशोधनको कुनै पनि निर्णयलाई आत्मसात् गर्ने मोर्चाको वचनबद्धताले नै देशमा एक नयाँ लहर ल्याउन सक्ने देखिन्छ । यसबाट हुने प्रत्यक्ष लाभको मूल्यांकन मोर्चा स्वयंले गर्नुपर्ने बेला आइसकेको छ ।
    महेशप्रसाद ढुंगाना
    नयाँबानेश्वर, काठमाडौं

     
  • कक्षा १२ को परीक्षा नसारियोस्
    यही वैशाख १० गतेबाट सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा जेठमा सर्ने हल्लाले कक्षा १२ मा अध्ययनरत विद्यार्थी तथा अभिभावकमा अन्योल र नैराश्य उत्पन्न गराएको छ । यसै त नेपालको शिक्षा प्रणाली पूर्वनिर्धारित समयमा परीक्षा हुँदासमेत समयमा परीक्षाफल प्रकाशित नगर्दा विद्यार्थीले आफूले चाहेको विषय र कलेजमा अध्ययन गर्न पाउँदैनन् भने परीक्षा पछि सरेमा त्यसको मार विद्यार्थीका साथै तिनका बाबुआमाले भोग्नु नपर्ला भन्न सकिन्न । ११ को परीक्षा सार्दा खासै बढी असर पर्दैन जति १२ को सार्दा पर्छ किनभने १२ को परीक्षा दिएपछि विद्यार्थीहरू उच्च शिक्षाका लागि तयारी गर्ने, स्वदेशी तथा विदेशी कलेजमा फर्म अप्लाइ गर्ने र त्यसका लागि सर्टिफिकेट पेस गर्नुपर्ने हुन्छ । यदि परीक्षा ढिला भएमा कसरी रिजल्ट समयमा आउँछ ? त्यसैले यो समस्यालाई सम्बन्धित निकायले समयमै विचार पुर्‍याए आम विद्यार्थी आफूले रोजेको विषय र कजेलमा अध्ययन गर्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने थिएन कि ?
    – कोसी माया धमला
    वनस्थली, काठमाडौं

     
  • वायुसेवा सञ्चालनको हाम्रो अवस्था
    फागुन १७ गते प्रकाशित गंगा रिजालले समेटेको संक्षिप्त हाम्रो हवाई आकाश तथा विमान चालकको योग्यता, क्षमतासँग जोडिएका विषयमा भक्तपुरका पाठक वीरेन्द्र सुवालले जोड दिएको विषयमा थप केही विचार जोड्न मन लाग्यो । संसारका कठिन तथा खतरनाक विमानस्थलहरूमै पर्छ हाम्रो एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन तथा आन्तरिकतर्फ लुक्लास्थित तेन्जिङ हिलारी लगायतका केही विमानस्थल, जहाँ उडान र अवतरणका केही समय सबैभन्दा बढी जोखिमपूर्ण मानिन्छ । हाम्रा चालकहरूको गुणगान धेरै पढ्न पाइन्छ भने यदाकदा कमजोरी पनि सुनिन्छ । चालक र सहचालक बोलचाल नै नगरी उडान भर्नेदेखि टावरले दिने निर्देशनलाई बेवास्ता गर्ने गरेकाले दुर्घटना भएको पनि सुनिन्छ । काठमाडौं उपत्यका भित्रिने ठाउँ चारैतिर पहाडले घेरिएको तथा लुक्लाकै उदाहरणमा ‘रनवे’ पुग्नुअघिका केही माइल दुई पहाडको खोँचबाट पसेपछि अवतरण गर्नुको विकल्प छैन । त्योबाहेक हाम्रा विमानको दुरुस्तता, चालकको विवेक वा निर्णयले पनि दुर्घटना हुने गरेको धेरै उदाहरण हरेकजसो दुर्घटनापछि बन्ने छानबिन आयोगले दिने प्रतिवेदनमा उल्लेख हुन्छ । पोखरा–जोमसोम रुटमा लेतेमाथि केही भागमा दुवैतर्फका टावरले काम नगर्ने हँुदा चालकले स्वविवेक प्रयोग गरी अनुमानको भरमा चलाउनु पर्नेसम्म सुनिन्छ । सरकारले आन्तरिकतर्फ धेरै भागमा विमानस्थल बनाउँदैछ भने भएका दर्जनौं विमानस्थल गौचरनमा परिणत भएका छन् ।

    नागरिक उड्डयन प्राधिकरणले पूर्ण क्षमतामा काम गरेको पाइँदैन । नियामक निकाय भएर कडाइसाथ नियम पालना गर्न सकेको छैन । जसको उदाहरणका लागि कोटेश्वर क्षेत्रमा बनिरहेका अग्लाअग्ला घरका बारेमा बेखबर मात्र होइन, बेलैमा रोक्ने प्रयास गरेनन् । तीसँगै अनगिन्ती ससना प्राविधिक कमजोरी, अभाव वा स्तर वृद्धिका समाचार पनि आइरहन्छन् । नेवानिका चालकले संसारका कुनै पनि विमान कम्पनीमा काम पाउने अब्बल क्षमता राख्छन् । तर, हामीले भने अन्तर्राष्ट्रिय उडानका लागि महँगोमा ‘कन्ट्रयाक्ट’ मा पाइलट ल्याउँदैछौं । अहिले मुलुकमा पाइलटको फालाफाल भएको सुनिन्छ । जागिर पाउन पढ्दा धेरै खर्च गरेजस्तै नगद नजराना चढाएर अवसर पाउने मधुर समाचार पनि आउँछन् । ठूला जहाजदेखि साना जहाज विस्तार गरिरहेको योजनामा निश्चित सर्त राखेर धेरैलाई अवसर दिने वा त्यसरी प्रशिक्षित भएर अन्यत्र जान चाहे क्षतिपूर्ति लिएर जान दिने व्यवस्था गर्न सकिन्छ । त्यसो हँुदा हामीकहाँ स्वदेशी क्षमतावान् उत्पादनले धेरै अवसर पाउँछन् ।
    श्रीकृष्ण राजवंशी
    सिन्धुली

Page 7
विविधा

उदारवादी वैचारिक संकट

यतिबेला केही उदारवादीहरू नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘गैर–उदारवादी’ खेमाको देखाउन ज्यान फालेर लागेका छन् । ट्रम्पले ‘अमेरिकालाई फेरि महान् बनाइने’ कुरा दोहोर्‍याउँदै ‘मुस्लिम समुदायलाई अमेरिका प्रवेश निषेधका कुरा’ व्यवहारमै उतार्न खोजे । गैरकानुनी आप्रवासीलाई अमेरिकाबाट धपाउने उर्दी जारी गरे । खुलाबजार अर्थतन्त्रले खडा गरेको सैद्धान्तिक मान्यतामा आधारित रहेर गरिएका सन्धिहरू जस्तै– ‘नाफ्टा’, ‘एपेक’, ‘टीपीपी’ जस्ता व्यापार सन्धि उल्टाउने प्रतिबद्धता पनि उनले जाहेर गरेका छन् । उनका अभिव्यक्तिहरू हेर्दा डब्लूटीओ, पेरिस वातावरण सन्धि, संयुक्त राष्ट्रसंघ जस्ता विश्व–संस्थाहरूमाथि विद्यमान काम–कारबाहीमाथि उनले असन्तुष्टि जाहेर गरिरहेका छन् । उनका यी सबै अभिव्यक्ति र घोषणाको अर्थ अमेरिकालाई नवउदारवादी भूमण्डलीकरणको नेतृत्वदायी भूमिकाबाट फिर्ता हुने कुरा प्रस्ट भाषामा बुझ्न सकिन्छ ।
गत फेबु्रअरी २८ मा अमेरिकी सिनेट र प्रतिनिधिसभाको संयुक्त अधिवेशनमा ६० मिनट लामो भाषण गर्दै उनले भने, ‘मेरो काम संसारलाई प्रतिनिधित्व गर्नु होइन, अमेरिकालाई प्रतिनिधित्व गर्नु हो ।’ यसअघि चिनियाँ, जर्मन र मेक्सिकोबाट आयात गरिने सेवा र वस्तुमाथि भन्सार दर ३० देखि ४० प्रतिशतले वृद्धि गर्ने घोषणा उनले गरेका थिए । यो भनाइले अमेरिकी प्रशासन अब संकुचित अर्थमा बुझिने राष्ट्रिय–राज्यमा फर्कन चाहन्छ । यस्तो सोचको प्रभाव विश्व राजनीति र अर्थतन्त्रमा नपर्ने भन्ने हुँदैन ।

यतिबेला जसरी वर्तमान अमेरिकी प्रशासन र त्यसका नायक राष्ट्रपति ट्रम्पलाई बहुलठ्ठी भनेर आलोचना गरिँदैछ र यसलाई उनको नितान्त व्यक्तिगत समस्याझैं गरी वर्णन गरिँदैछ । तर, यो व्यक्तिगत कुरा मात्र रहेन । विश्व–अर्थराजनीतिका विज्ञहरूले सन् २००८/०९ को विश्वव्यापी मन्दीपछिको समस्यालाई प्रणालीगत समस्या भन्दै आएका छन् । अहिलेको प्रणालीगत संकट वास्तवमा उदारवादी सिद्धान्तमाथिको संकट हो, जो सन् ’९० को दशकमा पूर्वी युराप तथा सोभियत समाजवाद समापनभन्दा कम गहिरो होइन । यो आलेख यही उदारवादी संकटमा केन्द्रित छ ।

उदारवादको अर्थमाथि प्रश्न
शुद्ध उदारवादीहरू ‘उदार’ शब्द ‘स्वतन्त्रता’ सँग जोडिएर आउने विषय हो भन्ने दाबी गर्छन् । तर, उदारवादका प्रणेता मानिने जोन लक र स्टुवार्ट मिलले भने उदारवादभित्र धनात्मक तथा ऋणात्मक दुवैखाले अवयवहरू हुन्छन् भन्ने व्याख्या गरेका थिए । ती दुवैलाई सन्तुलन मिलाउन राज्यको पहल हुनुपर्ने उनीहरूको जिकिर थियो । तर, केही समयपछि ‘मुक्ति वा स्वतन्त्रता’ को उदारवादी दाबीमाथि प्रश्न उठ्न थाल्यो । पुरातन अर्थशास्त्रीहरू व्यक्तिगत स्वतन्त्रताका सीमाहरू नतोकिँदा आर्थिक एकाधिकारसहित अत्यधिक शोषण सुरु भएपछि आलोचनामा उत्रिए । उदारवादको एकलौटी निर्णायक परिपाटीका कारण समग्र अर्थराजनीतिक विकासको प्रतिफल प्राप्तिमा थोरै व्यक्ति र शक्तिको एकाधिकार कायम हुन पुग्यो । अन्तत: असन्तुष्टी बढ्दै जाँदा विद्रोह र क्रान्ति हुने परम्परा नियमितझैं बन्यो । अठारौं शताब्दीको सुरुबाटै त्यस समयका दर्शनशास्त्री, राजनीतिशास्त्री तथा अर्थशास्त्रीहरू जस्तै मैस्त्रे र हेगेल, सेन्ट साइमन र सिसमन्डी, बुरेत र कोम्तेहरूले कडा शब्दमा तत्कालीन उदारवादी अभ्यासविरुद्ध असहमति जनाए । गैरउदारवादी खेमाबाट पहिलो पटक सन् १८४८ मा प्रकाशित कम्युनिस्ट घोषणापत्रमार्फत माक्र्स र एंगेल्सले व्यक्तिवादी उदारवादको विपक्षमा मत अगाडि सारेको विदितै छ ।

समाजको विकासक्रमसँगै सामाजिक न्यायको मागको दायरा बढ्ने विषयलाई उदारवाद शब्दले ‘स्वतन्त्रता’ शब्दको वास्तविक भार बहन गर्न चाहेन । त्यही भएर ठ्याक्कै एक शताब्दीअघि सन् १९१७ को अक्टोबर क्रान्ति ‘पुरानो उदारवाद’ भन्दा पृथक कोणबाट ‘हरेक, प्रत्येकको विकासका लागि, सबैको विकासको आवश्यकता’ को ब्यानरमा सम्पन्न हुन पुग्यो । बीसौं शताब्दीको अन्त्यतिर आइपुग्दा महान् त्याग र तपस्याबाट सिर्जित ‘क्रान्तिकारी परिवर्तन’ शब्दले समेत समाज विकासमा आत्मसात गर्नुपर्ने व्यावहारिक व्याख्या तथा व्यवस्थापन गर्न सकेन । त्यसपछि विश्व अर्थ–राजनीतिक तथा सामाजिक व्यवस्थामा धेरै ठूला उतारचढावहरू देखापरे, परिरहेका छन् ।

उदारवादका उतारचढाव
इटालियन उदारवादी तथा इतिहासकार गुइडो दे रुगिएरोले ‘हिस्ट्री अफ युरोपियन लिबरालिज्म’ मा नाजी र फासीवादीहरूको भन्दा उदारवादी व्याख्या भिन्न ढंगले अगाडि सारेका थिए । उनका लागि स्वतन्त्रताको वृद्धि समाजले देख्ने र बुझ्ने गरी आम जनताको उच्चतम तहमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ हुनुपर्छ, जसलाई ‘लोकतान्त्रिक पद्धतिमा आधारित सार्वजनिक सम्पत्ति’ को सम्मान मिलोस्, सबैको अधिकारलाई बराबरी सम्मान होस् । उदारवादबारे सामाजिक मान्यता राखेबापत रुगियरोलाई मुसोलिनीको फासीवादी सरकारले भूमिगत हुन बाध्य पारेको थियो ।

उन्नाइसौं र बीसौं शताब्दीको मध्यसम्म उदारवादी बौद्धिक उपासकहरूले दम्भ प्रदर्शन नगरिकनै राजनीतिक दृष्टिकोणसहित स्वतन्त्रताको नयाँ–नयाँ आयामसँगै नयाँ व्याख्या पस्कन खोजेका थिए । राजनीतिक स्वतन्त्रताको विजयपछि आर्थिक स्वतन्त्रतामा जोड गरिएको थियो । पछिल्लो पटक लोकतान्त्रिक स्वतन्त्रतामाथि विजय प्राप्त गर्न खोजिएको देखिन्छ । सोभियत संघको उदयपछि अंग्रेज अर्थशास्त्री जोन मिन्यार्ड किन्सको नेतृत्वमा राज्य निर्देशित लोककल्याणकारी राज्यले अपनाउनुपर्ने नयाँ आर्थिक स्वतन्त्रताको ध्वजा त्यत्तिकै उचालिएको थिएन । तर, लोककल्याणकारी राज्य अवधारणा कार्यान्वयनको त्यही अवधिमा अमेरिकी मौद्रिक अर्थशास्त्री मिल्टन फ्राइडमेन तथा पब्लिक च्वाइस थ्योरीका संस्थापक जेम्स बुचाननले किन्सको उदारवादमाथि कठोर प्रहार गरिरहे ।

सन् १९७३ मा फैलिएको अरब–इजरायली युद्धपछिको नाकाबन्दीका कारण चार गुणा बढी खनिज तेलको मूल्य बढ्न पुगेपछि पश्चिमा अर्थतन्त्र धराशयीझैं भयो । किनभने यसले मुद्रास्फीतिको चाप र रोजगार कटौतीलाई रोक्न सकेन । यो नयाँ समस्यालाई ‘स्टयागफ्ल्यासन’ को नाम दिइयो । किन्सले ‘यो’ आउन सक्तैन भनेका थिएनन् । उनले यस्ता समस्याहरू आइलाग्न सक्छन् र हटाउन वा खारेज गर्न सकिन्छ भनेका थिए । तर, समाधानका लागि यसै गर्नुपर्छ भनेर नयाँ सूत्र पस्किएका थिएनन् । यता फ्राइडमेनले भने ‘स्ट्यागफ्ल्यासन’ बाट बच्न खर्च घटाउनुपर्ने सूत्र अगाडि सारे, जसले मानिसहरूको समूहलाई होइन बजारलाई प्रश्रय दिन्थ्यो ।

त्यसबेला चिलीका फौजी शासक अगस्तो पिनोचेको अगुवाइमा त्यहाँ यो बजारवादी अर्थतन्त्रलाई प्रयोगमा ल्याइयो । नवउदारवादीहरूले खुलाबजारको अवधारणाले राजनीतिक स्वतन्त्रतालाई बढावा दिन्छ भन्ने ढोल पिटे । यी सिद्धान्तकारले सरकारलाई समष्टीगत अर्थतन्त्रलाई नियन्त्रणमा राख्ने र मूल्यमाथि नियन्त्रण राख्ने दुई काम सुम्पिए । ती काममा सीमित नहुने हो भने राज्यले ‘धनीको धन गरिबमा बाँड्न पाउँदैन’ भन्ने उर्दी जारी गरे । काम र उत्पादनलाई प्रश्रय दिन कर घटाउन तथा ऋण स्वरूप प्राप्त रकम सरकारी काममा खर्च कम गर्नुपर्ने सर्त अगाडि सारे । सम्पत्तिको अधिकारसम्बन्धी कानुन बनाउने र अन्य सरकारी कामको सीमा तोक्ने काम पनि गरे । यो सिद्धान्त व्यवहारमा लागू गर्दै जाँदा राज्यभन्दा उद्यमी–व्यापारी प्रभावशाली हुनु अस्वाभाविक थिएन । यससँगै राजनीतिमा नयाँ आर्थिक शब्दावलीले प्रवेश पायो । नागरिकहरू आश्रित बन्न पुगे, अस्पतालका बिमारीहरू ग्राहकमा रूपान्तरित भए । सबै सद्भाव, सहयोग, ऐक्यबद्धता वा सेवा, बजारको नियमअनुसार कारोबारमा बदलिए । नवउदारवादी धन्दालाई सैद्धान्तिक पाइजामा पहिराउन नयाँ संस्थाहरू चाहियो । विस्तारै विश्वविद्यालय, अखबार र सूचना, खोज तथा अनुसन्धानशालाहरूमा व्यापारिक सामूहिक मुद्राले प्रवेश पाउन थाल्यो ।

विचार बनाउन विज्ञ संवाहक चाहिन्थ्यो । त्यसका लागि ख्यातिप्राप्त राजनीतिज्ञहरू आवश्यक पर्थे, जसले नयाँ राजनीतिक माहोल खडा गर्न सकियोस् । सन् ७० र ८० को दशकमा विश्वव्यापी रूपमा पाँचवटा नेताहरूको उदय हुन पुग्यो । चीनमा देङ्ग जियायोपिङ्ग, बेलायतमा मार्गरेट थ्याचर, अमेरिकामा रोनाल्ड रेगन, फ्रान्समा फान्स्वा मित्राँ तथा जर्मनमा हेल्मोट कोल । देङ्गको बिरालोले चिनियाँ चरित्रको समाजवादमा मुसा मार्ने थेसिस् होस् वा मित्राँको सामाजिक प्रजातन्त्रमा आर्थिक उन्नतिका लागि नीजिकरण– दुवैको असली सिद्धान्त बजारवादको बाटो भएर आर्थिक विकासतिर लम्कने नयाँ खालको जुवाको अर्थमा अनुदित हुन पुग्यो ।

स्वाधीनताको नवउदारवादी व्याख्या
माथि उल्लिखित स्वनामधन्य नेतागणमध्ये कसैले हाकाहाकी र कसैले नदेखाइकन फ्रेडरिक हायकको ‘कन्स्टिच्यूसन अफ लिबर्टी’ बोके । कतिले देखाएर भने, ‘हामी यसमाथि विश्वास गर्छौं ।’ सन् १९८७ मा मार्गरेट थ्याचरले एक अन्तर्वार्तामा भनिन्, ‘कुनै पनि सरकारले जनताका लागि केही पनि गर्न सक्तैन, जनताले आफैंलाई हेर्नुपर्छ । आफैंले आफैंलाई हेरेपछि मात्र छिमेकीलाई हेर्ने पालो आउँछ ।’ त्यहीताका वामपन्थी खेमाका उदारवादीहरू दक्षिणपन्थी उदारवादीहरूबाट राजनीतिक रूपमा पछारिँदै गए । आर्थिक मात्रै होइन राजनीतिक शक्ति पनि विस्तारै ठूला शक्तिशाली पुँजीपतिहरूको पोल्टामा पर्न थाल्यो । नवउदारवादको विपक्षमा उभिने र त्यसबाट मुक्ति खोज्नेहरू जोसुकै हुन्, तिनलाई ‘आतंकवादी’ को बिल्ला भिराइयो । आइरिस क्रान्तिकारी बब स्यान्ड हुन् या दक्षिण अफ्रिकी नेल्सन मण्डेला, नेपाली गणेशमान हुन् या आङ्गसाङ्ग सुकी सबै उनीहरूका आँखामा अनेकथरीका ‘आतंककारी’ ठहरिए ।

सोभियत संघको विघटनपछि संकुचित उदारवादीहरू चम्किए । युरोपेली संघको हालीमुहाली बढ्यो, विश्व व्यापार संघ, नाफ्टा, एपेक, आसियान आदि विश्वव्यापारलाई बढावा दिने क्षेत्रीय अन्तरमहादेशीय संघ–संगठनहरू बने । व्यापार उकालो लाग्यो, विश्व अर्थतन्त्र झांगियो, घाटा कम हँुदै गयो । इन्टरनेट, कम्प्युटर सस्ता भए । राष्ट्रिय राज्यका पर्खालहरू भत्किएर विश्व–ग्राम बनेको प्रचार भयो । युगोस्लाभिया टुक्रियो र युद्ध पनि बन्द भयो । सबै सिद्धान्तहरूको माउझैं बन्न पुग्यो– नवउदारवादी बजार अर्थतन्त्र । ‘संसार जित्यौं’ भनेर गरिएको हाँसोमा अकस्मात सन् २००१ सेप्टेम्बर ११ को घटनाले ‘ब्रेक’ लगायो । त्यो आक्रमणमा भएको हजारौं निहत्था नागरिकहरूको हत्याको सर्वत्र निन्दा भयो । तर, अमेरिकी प्रशासनले यसलाई जातीय, नश्लीय र धार्मिक विषयलाई मिश्रण गरेर भिन्न सभ्यताबीचको लडाइँमा परिभाषित गरिदियो । अफगानिस्तानमा युद्धको पुन:स्थापना भयो । इराकमा युद्ध थोपरियो । लडाइँमा समाज विभक्त हुनु अस्वाभाविक थिएन । दीर्घकालीन युद्ध, थोरै मान्छेहरूमा सञ्चित हुँदै गएको सम्पत्ति, बढ्दो सार्वभौम ऋण, पोस्ट–इन्डस्ट्रियल सोसाइटीले खडा गरेको बेरोजगारी आदि समस्याले पश्चिमा अर्थतन्त्र लामो मन्दीमा फस्दै गएको थियो । सन् २००८ को बैंकिङ संकटले विश्व अर्थतन्त्रलाई बृहत् मन्दीमा धकेल्यो ।

वामपन्थी र दक्षिणपन्थी उदारवादीहरूको बीचबाट पलाएका मध्यपन्थी सुधारवादीहरू (जस्तो अमेरिकी विल क्लिन्टन, बाराक ओवामा, बेलायती टोनी ब्लेयर र ग्रोडन ब्राउन, फ्रान्सका फ्रान्कोइस होलान्ड आदि) बाट पश्चिमा समाजले ठूलो आशा गरेको थियो । सबै खालको आर्थिक, सामाजिक र राजनीतिक असमानताबाट मुक्ति पाउने तिनले अपेक्षा गरेका थिए । तर, यी पछिल्ला मध्यपन्थीहरूले राज्य र बजारबीचको पृथकता, राज्यले अधिकारयुक्त तर सन्तुलित ढंगले बजारमाथि गर्नुपर्ने नियमनलाई सन् १९३५/४५ का उदारवादी नेतृत्वले झैं साहस देखाउन सकेनन् । बजारको जन्जालमा रुमल्लिएका यी शासकहरूले एकाधिकारवादी धनाढ्यहरूले चाहेझैं ‘सरकारले बजारमा हस्तक्षेप त गर्नुपर्छ तर बैंक, वित्तीय पुँजी तथा लेन्डिङ एजेन्सीको पक्षमा’ भनेझैं नुनको सोझो गरे । तर, सरकारको काम भनेको सर्वसाधारणमाथि कर लगाउने र त्यो करबाट भरिएको ढुकुटी भने बैंक तथा वित्तीय संस्थाहरू जोगाउन खर्च गर्ने जस्तै देखियो । विगत आठ वर्षमा यी मध्यपन्थी उदारवादी शासकहरूले यही ‘प्रजातान्त्रिक अभ्यास’ गरिरहे ।

अमेरिकी कानुनका प्रा. रिचार्ड पोस्नरका दुई प्रसिद्ध पुस्तक ‘अ फेल्युअर अफ क्यापिटालिज्म’ र ‘दी क्राइसिस अफ क्यापिटालिस्ट डेमोक्रेसी’ सन् २००९ र २०१० मा हार्वर्ड युनिभर्सिटी प्रेसले बजारमा ल्यायो । यी दुवै किताबको मूल वर्णन ‘नवउदारवादीहरूले उदारवादको मूल मर्मलाई जरैदेखि उखलेर फाले’ भन्ने रहेको छ । १९८० को दशकदेखि नै पुँजीवादी शासकहरूले बजारको नियमन नगरेर एकाधिकारवादीको विस्तार चाहने बहुराष्ट्रिय कम्पनीहरूको एकलौटी बजार बनाउने धन्दाका लागि राज्यको दुरुपयोग गरे भनिएको छ । बजारले आफ्नो सन्तुलन आफैं मिलाउँछ र आफूलाई आफैंले सच्याउँछ भन्ने भ्रमको विस्तार गर्न मूलधारका मिडियाहरूले थप भ्रम छर्न पुगे । सरकारहरूले वित्तीय पुँजीले असमानता र संकट
दुवै निम्त्याउँछ भन्ने जान्दाजान्दै विश्वव्यापी लुटमा सामेल हुन छुट दिए । यिनै कारणले पुँजीवादी प्रजातन्त्रमा संकट आइपरेको प्रा. पोस्नरको निष्कर्ष छ ।

नयाँ विवेचनाको खोजी
बहुचर्चित पुस्तक ‘दी क्वेस्ट फर अ मोरल कम्पास : अ ग्लोबल हिस्ट्री अफ एथिक्स’ का लेखक केनान मलिकका विचारमा उदारवाद र लोकतन्त्रबीच धेरै पहिलेदेखि नै बेचैनीपूर्ण सम्बन्ध थियो । उदारवादीहरू समग्रमा ‘मासेज’ सँग डराइरहे, ‘बहुमतको निरंकुशता’ वा ‘भीडको शासन’ भनेर वास्तविक प्रजातन्त्रलाई तिरष्कार गरिरहे । शीतयुद्धको समाप्तिपछि तिनलाई उदारवाद र लोकतन्त्रबीचको टकराव समाप्त हुन्छ भन्ने लागेको थियो । आमजनता विशुद्ध मतदाता हुनेछन्, प्राविधिक तरिकाले बनेका सरकारहरूले पस्किने लाभमा रमाउनेछन् भन्ने तिनको आँकलन थियो । तर, बितेका २५ वर्षमा ठीक उल्टो हुन पुग्यो । वाम र दक्षिणपन्थी दुवै कोणबाट यो दशकमा वर्तमान उदारवादी दृष्टिकोणमाथि प्रश्न उठाइएका छन् । खासगरी थोमस पिकेटीको असमानतासम्बन्धी अध्ययन बाहिर आएपछि प्रश्नहरू प्रखर रूपमा उठे । उनको विश्लेषणअनुसार सन् १९७० को दशकमा माथिल्लो १० प्रतिशत धनाढ्यका हातमा राष्ट्रिय आयको ३० देखि ३५ अंश हुने गथ्र्यो, सन् २००० मा त्यो ४५ देखि ५० प्रतिशत पुग्यो । यसबीचमा एक प्रतिशतले ४० प्रतिशत राष्ट्रिय आयमाथि कब्जा जमाए । ठूला कर्पोरेसनहरूको नाफा सन् २००० मा ७८८ अर्ब अमेरिकी डलर रहेकोमा २०१५ मा २.१ खर्ब डलर पुग्यो । अमेरिकी अर्थशास्त्रीद्वय एमानुयल साएज तथा गाब्रियल जुकमेनले प्रस्तुत गरेको पछिल्लो आँकडाअनुसार एक प्रतिशत धनाढ्यहरूले विश्वको ४२ प्रतिशत राष्ट्रिय सम्पत्तिको हिस्सा ओगटेका छन्, जो ३५ खर्ब अमेरिकी डलर बराबर हुने गर्छ ।

अहिलेको संसारमा बहुसंख्यक मानिसहरू, जो आफ्नो आवाज दबिएर, बिलाएर हावामै हराइरहेको महसुस गर्छन् वा गर्दैछन्, तिनले उदारवादका मूल्यहरूमाथि धावा नबोल्दा आफ्नो लोकतान्त्रिक हक जिउँदो नरहने ठानिरहेको बुझिन्छ । वास्तवमा अहिले उदारवाद र लोकतन्त्रबीच तीव्र ध्रुवीकरण छ । डोनाल्ड ट्रम्पलगायत धेरै दक्षिणपन्थीहरू यो धु्रवीकरणको माहोलमा झूटो आश्वासन र सञ्चित पुँजीको बलमा सत्ताको भर्‍याङ चढ्न सफल भए । तर, त्यो दिगो र भरपर्दो हुने देखिन्न । किनभने आज देखिएको प्रणालीगत संकट अझ बढी नवउदारवादी अभ्यासमार्फत टार्न सम्भव छैन । तिनका अनुयायीले ठानेझैं ‘लोकतन्त्र’ मतपत्रमा वयक्त गरिने अभिव्यक्ति वा लगाइने छाप मात्र होइन, आम जनमानसको जीवनपद्धतिसँग जोडिने विषय हो ।

न्यूनतम समानता, सामाजिक न्यायमा आधारित सहजता खोजिने यस्तो जीवनपद्धति वैज्ञानिक–समाजवादी–लोकतन्त्रमा मात्र सम्भव हुन्छ । नितान्त व्यक्तिगत पुँजीको वृद्धि वा त्यसबाट चुहिएर झर्ने तरलताबाट अरूलाई पनि भरथेग गर्ने विश्वास गरिएको ‘ट्रिकल डाउन एप्रोच’ वाला पुँजीवाद, तथा वित्तीय पुँजीवादको विस्तार विश्वव्यापी रूपमा असफल साबित भइसकेको छ । यो घडीमा तीव्र गतिमा बदलिरहेको नेपाली समाजले सामाजिक न्यायसहितको विकल्प खोज्न नयाँ ढंगले सैद्धान्तिक–वैचारिक विवेचना गर्न ढिला गर्नु हुँदैन ।

विविधा

शैक्षिक योग्यताको राष्ट्रिय मापदण्ड

- डा. मनप्रसाद वाग्ले

सन् १९९० को दशकको अन्त्यतिर राष्ट्रिय शिक्षा र तालिम प्रणालीको सुधारका लागि सुरु भएको ‘राष्ट्रिय योग्यताको प्रारूप’ को विकास विश्वव्यापी बन्न पुगेको छ । सुरुमा अंग्रेजी मूलका विकसित देशहरूबाट सुरु भएको भनिएको यो अभियान विकासोन्मुख मुलुकसहित १५० मुलुकहरूमा तयारीको अवस्थामा छ । औपचारिक, अनौपचारिक तथा प्राविधिक र व्यावसायिक शिक्षालाई समान रूपले एउटै प्रारूपमा राखेर लम्बीय र समतलीय समकक्षता अङ्गिकार गर्नु र औपचारिक मूल धारमा नआएका तर अनौपचारिक र सीपयुक्त जनस्रोतलाई औपचारिक शिक्षासँगै सोही सरहको मान्यतामा गाँस्न सक्नु यसको सुन्दर पक्ष हो । विश्वका शिक्षा प्रणालीको अनुभवले के देखाएका छन् भने प्राय: मुलुकमा स्कुले शिक्षा र उच्च शिक्षाले यति मान्यता बोकेका छन् कि मानौं व्यावसायिक सीप बोक्नेको कुनै सम्मान नै छैन । औपचारिक साधारण शिक्षाका उत्पादनसँग सीपको अभाव छ भने सीपयुक्त जनस्रोतमा कथित औपचारिक योग्यताको अभाव । तर, दुवैथरी जनस्रोतले राष्ट्र विकासमा आफ्नो किसिमले उत्कृष्ट योगदान गरेकै हुन्छ । त्यसो भए यी दुईबीचको अन्तर के हो ? के गर्दा दुवैथरी जनस्रोतलाई राष्ट्र विकासको मूल धारमा ल्याउन सकिन्छ ? प्राविधिक वा व्यावसायिक सीप भएकाहरूलाई सोही धारमा कसरी विज्ञ बनाउन सकिन्छ ? साधारण शिक्षा लिएकाहरूले प्राविधिक सीप हासिल गर्न चाहे उनीहरूलाई कसरी स्थानान्तरण गर्न सकिन्छ ? वा व्यावसायिक सीप भएकालाई साधारण शिक्षामा जान चाहे कस्तो बाटो उपयुक्त होला ? जस्ता अहम् प्रश्नको जवाफ राष्ट्रिय योग्यताको प्रारूपले मात्र दिन सक्छ जसलाई योग्यताको राष्ट्रिय मापदण्ड नै मानिन्छ ।

कतिपय देशले सुरुमा छुट्टै व्यावसायिक शिक्षाको राष्ट्रिय प्रारूपबाट काम सुरु गरे भने कतिपय मुलुकले दुवैथरी शिक्षा मिलाएर राष्ट्रिय शिक्षाको योग्यता निर्धारण गर्ने काम गरेर व्यावसायिक शिक्षाको महत्त्व पश्चिमा मुलुकहरूमा बढ्दै गइरहेको वर्तमान अवस्थामा विकासोन्मुख मुलुकहरूमा भने व्यावसायिक तालिमको अर्थ र महत्त्व त्यति उत्साहजनक छैन । तर, सत्यता के हो भने राष्ट्र विकास र निर्माणमा व्यावसायिक सीपको महत्त्व अरू कुनै योग्यताभन्दा कम आँक्न सकिन्न । देशमा विद्यमान शिक्षा पद्धति, औपचारिक शिक्षाका डिग्रीहरू, वैकल्पिक अनौपचारिक प्रणालीहरू, तालिमका कार्यक्रमहरू सबैलाई एकसाथ राखेर व्यावसायिक पेसाका तह निर्धारण गर्दै त्यसलाई औपचारिक शिक्षा पद्धतिको मूल धारमा समाहित गर्ने कार्य नै योग्यताको राष्ट्रिय मापदण्डको अभ्यास हो । तर, नीतिगत स्पष्टता नभई प्रारूप तयार हुन सक्दैन । त्यसैले नेपालको शिक्षाको दूरदृष्टि तय गरी आगामी १० वर्षभित्र नेपालको शिक्षालाई कुन स्तरमा पुर्‍याउने हो भन्ने कुराले ठूलो भूमिका खेल्दछ । यो अभ्यासले भोलिका दिनमा देशको शिक्षा पद्धतिलाई बलियो त बनाउँछ नै त्यसका साथसाथै आज भइरहेका शिक्षा नीतिलाई उपयोगी मानवस्रोत उत्पादनतर्फ उन्मुख गराउन एउटा बलियो आधारशिला तयार पार्दछ । त्यसैले योग्यताको प्रारूपलाई जीवनपर्यन्त शिक्षाको मूलमन्त्र मानिन्छ ।

साधारण शिक्षाको योग्यतालाई निश्चित तहमा वर्गीकरण गर्ने, व्यावसायिक र प्राविधिक धारको शिक्षालाई त्यसरी नै वर्गीकरण गर्ने, अनौपचारिक शिक्षाबाट प्राप्त ज्ञान र सीपलाई योग्यताका आधारमा वर्गीकरण गर्ने र प्रत्येक योग्यताको वर्गीकरणलाई समकक्षताको साँचोमा ढाल्दै कुनै पनि धार आफंैमा विशिष्टीकरण तहसम्म पुग्न सक्छ भन्ने सन्देश एकातर्फ योग्यताको प्रारूपले दिन्छ भने अर्कोतर्फ एउटा धारबाट अर्को धारमा जाने बाटोसमेत यसले खुला गरेको हुन्छ । उदाहरणका लागि साधारण शिक्षाको कक्षा ३ सम्म पढेकालाई योग्यताको तह १ मानिएको र प्राविधिक शिक्षाको तह १ मा भर्ना हुन कक्षा ५ तोकिएको छ भने ३ कक्षा पढेको मान्छेले तोकिएको तहको प्रवेश योग्यता उत्तीर्ण गर्दा सहजै ५ कक्षा सरहको प्राविधिक वा व्यावसायिक तहमा भर्ना हुन सक्छ । अथवा साधारण धारमा नै तह २ को शिक्षा प्राप्त गर्न पनि सक्छ । त्यस्तै व्यावसायिक शिक्षाको निश्चित तह पार गरेकाले साधारण शिक्षाको समकक्षी तहमा स्थानान्तरण हुन चाहेमा सो तहको प्रवेश योग्यता परीक्षा उत्तीर्ण गर्छ भने भर्ना हुन पाउँछ वा आफ्नै धारमा माथिल्लो तहमा जान पनि सक्छ । यसरी लम्बीय वा समतलीय समकक्षता प्रदान गर्ने गुणस्तरीय आधारहरू सोही प्रारूपले निर्धारण गरेको हुन्छ । ती आधारलाई केन्द्रविन्दु बनाएर प्रत्येक तह प्रवेश वा पार गर्ने सूचकांकहरू तयार पारिन्छन् र त्यसैका आधारमा व्यक्तिको योग्यता परीक्षण गरिन्छ । त्यसैले शैक्षिक योग्यताको राष्ट्रिय मापदण्डले दुईवटा कुरामा आफ्नो ध्यान केन्द्रित गरेको हुन्छ । एक, कुनै पनि व्यक्तिसँग भएको ज्ञान र सीपलाई मान्यता दिनु र दुई, निश्चित योग्यताको मापन गर्दै को कुन तहका लागि योग्य हो भन्ने कुराको निक्र्योल गर्नु । यसो हुँदा हालसम्म कुनै पनि औपचारिक तहमा भर्ना नभएर पनि निश्चित सीप हासिल गरेका मान्छेलाई सीप परीक्षणको आधारमा उपयुक्त तहको मान्यता मिल्छ र सो व्यक्तिले सीप बजारमा सोही तह अनुरूपको रोजगारी प्राप्त गर्न सफल हुन्छ ।

यस्तो योग्यता र सीप परीक्षण गर्नका लागि एउटा छुट्टै कानून बनाइएको हुन्छ र त्यस कानूनअन्तर्गत राष्ट्रिय योग्यता निर्धारण गर्ने अधिकारप्राप्त स्वायत्त निकायको गठन गरिन्छ । व्यक्तिमा निहित ज्ञान र सीपका क्षमतालाई पहिचान गर्ने, परीक्षण गर्ने र उसलाई राष्ट्रिय योग्यताको सुहाउँदो तहको प्रमाणीकरण गर्ने काम उक्त निकायले गर्दछ । तर, यस्तो निकाय गठनपूर्व नै तयार पारिने योग्यताको निर्धारण गर्दा नीति निर्माता, कार्यान्वयनकर्ता र रोजगारदाताजस्ता सबै प्रकारका सरोकारवालाहरूको सहभागिता अनिवार्य मानिन्छ । किनभने, एक पटक योग्यताको प्रारूप निर्धारण भइसकेपछि सम्बन्धित मुलुकको शिक्षा प्रणाली र रोजगार पद्धति त्यसै अनुरूप नै अगाडि बढ्नुपर्ने कानूनी बाध्यता रहन्छ । यस्तो पद्धतिले विद्यमान औपचारिक शिक्षा तह र व्यावसायिक सीप तहबीचको अन्योल चिर्ने सामथ्र्य राख्छ भने बजारमा देखिएको भद्रगोल रोजगार प्रणालीलाई गुणस्तरीय रोजगारमा रूपान्तरण गर्दछ । गुणस्तरीय रोजगारीको अर्थ गुणस्तरीय उत्पादन पनि भएकाले यसबाट रोजगारदाता पनि उत्तिकै लाभान्वित हुन्छ । कुन तहको सीप भएको मान्छेले बजारमा कस्तो काम पाउन सक्छ भन्ने कुराको निक्र्योल रोजगारदातासँगको सहकार्यमा मात्र तय गर्न सकिन्छ । विकसित मुलुकका कुरा गर्ने हो भने एउटा प्राध्यापकले भन्दा एउटा गतिलो प्राविधिक सीप भएको डकर्मीले बढी आम्दानी गर्छ । विकासोन्मुख मुलुकमै पनि जागिरमा लाग्ने युवाभन्दा प्राविधिक काम गर्ने युवाको कमाइ तुलनात्मक रूपमा बलियो हुन थालिसकेको छ ।

अहिले नेपालमा शिक्षा मन्त्रालयले ‘राष्ट्रिय योग्यताको प्रारूप’ बनाउने काम प्रारम्भ गरी एउटा प्रतिवेदन तयार पारिसकेको छ जहाँ औपचारिक विद्यालय र उच्च शिक्षा, प्राविधिक र व्यावसायिक शिक्षा तथा अनौपचारिक शिक्षालाई एकीकृत गर्ने प्रयास गरिएको छ । अर्कोतर्फ नेपाल सरकारसँगको सम्झौतामा स्विस सरकारको लगानीमा ‘नेपाल व्यावसायिक योग्यता प्रणाली’ को विकास गर्ने काम पनि प्रारम्भ भएको छ । प्रारम्भिक रूपमा साधारण शिक्षातर्फ ८ तह र व्यावसायिकतर्फ पनि ८ तह नै सिफारिस गरिएका छन् ताकि भोलि गएर समकक्षतामा अलमल नहोस् । यसरी दुवै योग्यताको ८/८ तह निर्धारण गर्दा एउटै योग्यताबाट अर्को योग्यतामा जाने बाटो खुला गरिएको छ भने स्थानान्तरणका लागि पूर्वयोग्यतालाई प्रमाणीकरण गर्दै अर्को योग्यतामा जानका लागि आवश्यक ज्ञान र सीप भए नभएको परीक्षण गर्ने व्यवस्था पनि गरिएको छ । कुनै पनि योग्यताबाट आठौं तह पुग्न सक्नेले पीएचडी सरहको मान्यता पाउँछन् ।

विविधा

ल्याब परीक्षणमा ‘आउटसोर्सिङ’

- डा. रुना झा

‘आ उटसोर्सिङ’ भनेको कुनै कम्पनीले आफूले पाएको कामको कुनै हिस्सा अन्यत्र ठेक्का दिई गराउनु हो । सुन्दा अचम्म लाग्न सक्छ अन्य व्यापार जस्तै मेडिकल क्षेत्रमा पनि ‘आउटसोर्सिङ’ निकै व्याप्त छ । कुनै अस्पतालले आफ्नो रेडियोलोजी, प्रयोगशाला, फार्मेसीजस्ता सेवा आफैंले सञ्चालन नगरी अरूलाई सञ्चालन गर्न दिन सक्छन् । यसले धेरै हदसम्म अस्पतालको खर्च कटौती गर्ने गर्छ । मेडिकल प्रयोगशालाको हकमा अस्पतालले पूरै प्रयोगशाला अरू कसैलाई आफ्नै हाताभित्र चलाउने गरी दिन सक्छन् वा आफैंले केही परीक्षण मात्र राखी अरू परीक्षण अर्को कुनै प्रयोगशालामा
पठाइदिने व्यवस्था गरेका हुन सक्छन् । नेपालका अस्पतालहरूमा दुवैथरीका तरिका अपनाएको पाइन्छ । साना क्लिनिकहरूले कुनै प्रयोगशालाकर्मीलाई आफ्नै क्लिनिकमा प्रयोगशाला ठेक्कामा दिएका हुन पनि सक्छन् भने यसरी ठेक्का पाएको प्रयोगशालाले पनि सबै काम आफैं नगरी त्यसमध्ये धेरै काम फेरि अर्को प्रयोगशालामा पठाइदिन सक्छन् । अस्पतालहरूले धेरैजसो आफंैले प्रयोगशाला सञ्चालन गर्छन् तर नाम चलेका अस्पतालले पनि आफूकहाँ धेरै आउने परीक्षण र विशेषज्ञ नचाहिने परीक्षण मात्र राखी अरू अर्को कुनै प्रयोगशालामा पठाइदिने गर्छन् ।
प्रयोगशाला परीक्षण ‘आउटसोर्सिङ’ गरिदिँदा एउटा अस्पतालले आफ्नो ध्यान र खर्च प्रयोगशालाबाट हटाएर अन्य सेवातिर केन्द्रित गर्न सक्छ भने ठूला उपकरणका लागि चाहिने ठाउँ पनि अन्य कुनै प्रयोजनमा ल्याउन सक्छ । त्यस्तै कहिलेकाहीं आउने परीक्षणको केमिकल म्याद नाघेर खेर जाने समस्याबाट पनि जोगिन्छ । प्रयोगशाला सेवा मात्रै सञ्चालन गर्नेले भने आफ्नो सबै ध्यान र पुँजी त्यस सेवामै केन्द्रित गर्ने हुनाले त्यहाँ नयाँ प्रविधि भित्राउन सजिलो हुन्छ तथा मानव संसाधनको व्यवस्थापन पनि सहज हुन्छ । कुनै अस्पतालमा या सानो प्रयोगशालामा हप्तामा एउटा आउने वा हप्ताको एक दिन गरिने परीक्षण यस्ता विशेषज्ञ ठाउँमा दिनकै सयौं आउन सक्छन् र दिनहुँ भइरहेका हुन्छन् । यसले गर्दा बिरामीलाई छिटो नतिजा पनि उपलब्ध गराउन सकिन्छ । नेपालजस्तो देशले मात्र होइन अमेरिका र संयुक्त अधिराज्यजस्ता विकसित देशले पनि मेडिकल प्रयोगशाला सेवामा ‘आउटसोर्सिङ’ गर्ने गरेका छन् । यसो गर्दा देशभित्रकै कुनै अन्य प्रयोगशालासँग सम्झौता गरी प्रयोगशाला परीक्षणको जिम्मेवारी दिइन्छ भने कतिपय विशेष परीक्षण विदेशी प्रयोगशालामा पनि पठाइन्छ ।

विकसित देशमा ल्याब खर्च महँगो हुने हुँदा ती देशले कुनै–कुनै परीक्षण आफ्नो देशबाहिर पनि ‘आउटसोर्सिङ’ गर्छन् भने केही देशले आफूकहाँ सेवा उपलब्ध हुन नसकेकाले त्यसो गर्ने गर्छन् । यसरी ‘आउटसोर्सिङ’ गर्दा बिरामी र अस्पताललाई समेत फाइदा हुने देखिन्छ । बिरामीले आफ्नो देशमा उपलब्ध नभएका परीक्षण पनि यहीं बसी आफ्नो रगतको नमुना मात्र बाहिर पठाई सेवा लिन सक्नु पक्कै सुविधाजनक हो । यसरी हेर्दा मेडिकल प्रयोगशाला ‘आउटसोर्सिङ’ को फाइदा नै फाइदा देखिन्छ तर यसले ल्याएको कुरीतितिर पनि हेरौं । मानांै तपाईं महाराजगन्ज बस्नुहुन्छ र बालाजुको कुनै अस्पतालमा जाँच गराउन आउनुहुन्छ । त्यो अस्पतालले तपाईंको रगतको नामुना लिन्छ र परीक्षणका लागि महाराजगन्जकै कुनै प्रयोगशालामा पठाइदिन्छ । तपाईं आफंै त्यहाँ गएर रगत दिँदा ४०० रुपैयाँमा हुने परीक्षण बालाजुको अस्पतालबाट घुमेर आउँदा ६०० रुपैयाँको भइसकेको हुनसक्छ र महाराजगन्जको प्रयोगशालामा सीधै जाँदा बिहान दिएर बेलुका पाइने नतिजा ३ दिनपछि मात्र तपाईंले बालाजुको अस्पतालबाट पाउनु हुनेछ ।

यति मात्र होइन अन्य अस्पताल वा प्रयोगशालाबाट आफूकहाँ ल्याइएका नमुनामा पनि महाराजगन्जको प्रयोगशालाले सबै परीक्षण आफैंकहाँ नगरी त्यसलाई विदेशको कुनै प्रयोगशालामा पठाइदिन सक्छ जब कि उसले विदेश पठाएको परीक्षण त्यहाँ उपलब्ध नभए पनि काठमाडौंभित्रकै अन्य कुनै प्रयोगशालामा उपलब्ध हुनसक्छ । यसरी आज दिएको रगत बालाजुबाट महाराजगन्ज र त्यहाँबाट विदेश पुग्दा बाटोमै ३/४ दिन लग्न सक्छ । यसरी घुमिरहँदा रगतमा आउने परिवर्तनले कतिपय परीक्षणको नतिजालाई समेत प्रभावित गर्छ । यदि तपाईं बाहिरबाट आई कुनै लज अथवा होटलमा बसेर उपचार गरिरहनुभएको छ भने आफ्नो परीक्षण खर्चमा काठमाडौंमा बस्न, खान लाग्ने खर्च पनि जोडेर हेर्नुस्, काठमाडौंभित्र बिहान नमुना दिएर बेलुका रिपोर्ट लिई भोलिपल्ट घर फर्किन सक्ने तपार्इं आफ्नो रगतको नमुनाको ‘आउट सोर्सिङ’ को मारमा परी कयौं गुना बढी खर्च तिरिरहेको हुन सक्नुहुन्छ ।

आफूकहाँ लामो चौडा परीक्षणको सूची राखी बिरामीलाई भ्रममा पारेर बिरामीको नामुना अर्को प्रयोगशाला वा त्यहाँबाट पनि विदेश पठाएर विशिष्ट सेवा दिने दाबी गर्ने ठूल्ठूला अस्पतालहरू पनि बिचौलियाको काम मात्र गरेर बिनालगानी कमिसनबाट कमाइरहेका हुन्छन् र बिरामी यसबाट मर्कामा परिरहेका हुन्छन् । अझ सेवाग्रहीलाई कति पटक आफ्नो रगत यसरी घुमिरहेको जानकारी नै हुँदैन । जसरी नमुना पठाइएको हुन्छ त्यसरी नै नतिजा नामुना पठाउने अस्पताल अथवा प्रयोगशालासम्म आइपुग्छ र कति अस्पताल र प्रयोगशालाले त्यस रिपोर्टलाई आफ्नै लेटरहेडमा लेखेर आफैंले परीक्षण गरेझैं सेवाग्राहीलाई उपलब्ध गराउँछन् या आफ्नै नाममा दिए पनि एउटा कुनामा बाहिर पठाएको जानकरी बिरामीको ध्यान नजाने गरी लेखेका हुन्छन् । यसरी अन्यत्र परीक्षणका लागि पठाउँदा त्यो नमुना पठाउने अस्पतालको नियन्त्रणबाट बाहिर जान्छ अनि कसरी त्यो अस्पतालले त्यस्तो परीक्षणको गुणस्तरको जिम्मेवारी लिन सक्छ ? सेवाग्राही अथवा चिकित्सकलाई नै नतिजासम्बन्धी कुनै जिज्ञासा भएमा परीक्षण नै नगरेको अस्पतालले अथवा प्रयोगशालाले कसरी त्यस्तो जिज्ञासाको समाधान गर्न सक्छ ? फेरि विदेशका सबै प्रयोगशाला बाहिरबाट आएको नमुनामा परीक्षण गर्न आफ्नै देशमा पनि अनुमति नपाएको हुनसक्छ तर तपाईंको रगत पठाइएको प्रयोगशाला कस्तो खाले हो, आफ्नै देशमा त्यसको मूल्य मान्यता के छ तपाईं त्यसबाट अनभिज्ञ हुनसक्नु हुनेछ ।

प्रयोगशाला परीक्षणको नतिजा नतिजा मात्र नभई सूचना पनि हो जसले कुनै रोगको नतिजा बुझ्न मद्धत गर्छ । देशभित्र कयौं प्रयोगशालामा उपलब्ध रहेको साधारण परीक्षण पनि विदेशमा पठाइदिँदा करोडौं रुपैयाँ मात्र विदेशिँदैन, स्वास्थ्यसम्बन्धी सूचना पनि हराएर जान्छ । यति मात्र होइन नेपालमा सुविधासम्पन्न प्रयोगशाला लगानी पनि नउठ्ने डरले स्थपना गर्न गाह्रो हुन्छ, महँगा परीक्षण गर्न कठिन हुन्छ । सेवाग्राहीले आफ्नो नमुना बाहिरै पठाउन चाहेमा त्यो अधिकार छिन्न पक्कै नमिल्ला तर त्यसबारे सेवाग्राहीलाई सम्पूर्ण जानकारी दिनु इमान्दारी हुन्छ ।
‘आउटसोर्सिङ’ गर्दा नमुना कहाँ पठाउन लागिएको हो, सेवाग्राहीलाई पर्ने खर्च, नतिजा आउन लाग्ने समय, नमुना सुरक्षित पठाइने विधि, विदेशमा पठाउँदा कहाँ पठाउन लागिएको हो, त्यस प्रयोगशालासम्बन्धी जानकारी, नेपालमै त्यो परीक्षण सुविधा उपलब्ध भए–नभएको जानकारी दिई सेवाग्राहीलाई ‘बाहिरको नतिजा राम्रो हुन्छ’ वा ‘फलानो प्रयोगशालाको नतिजा मात्र भरपर्दो हुन्छ’ जस्ता वाक्यबाट प्रभावित नबनाई आफ्नो नामुनासँग के गर्ने, त्यसको निर्णय लिन दिनुपर्छ । सेवाग्राही पनि जागरुक भई आफूले दिएको नमुना कुन अवस्थामा कहाँ–कहाँ घुम्ने हो र किन ? त्यसबारे आफूले रगत बुझाएको प्रयोगशालालाई सोध्नुपर्छ । उपभोक्ता पूरै जागरुक नभइसकेको अवस्थामा मेडिकल प्रयोगशाला परीक्षण ‘आउटसोर्सिङ’ ले ल्याएको विकृतिलाई कानुनमार्फत सम्बोधन गर्नु जरुरी छ ।झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्वास्थ्य सेवा विभाग, टेकुका प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट हुन् ।

Page 8
देश

गाउँ–गाउँमा बढ्यो चुनावी चासो

स्थानीय तह निर्वाचन
स् थानीय निकायका े निर्वाचन तयारी मा छलफल गर्दै बझाङी युवा ।

सरकारले निर्वाचन घोषणा गरेसँगै गाउँगाउँमा चनावी चर्चा बढेको छ । लामो समयसम्म चुनाव नभएकाले यसपटक युवा जनचासो बढेको देखिन्छ । चुनावले आउने स्थानीय नेतृत्वले विकासलाई गति दिनेमा जनता आशावादी देखिएका छन् । जनप्रतिनिधि छनोट गर्नु अनिवार्य भएकाले जसरी पनि चुनाव हुनुपर्ने पूर्वप्रतिनिधिहरूको दाबी छ । यसै सन्दर्भमा पाल्पाबाट माधव अर्याल, रुकुमबाट हरि गौतम, पर्वतबाट अगन्धर तिवारी, उदयपुरबाट डिल्लीराम खतिवडा, भोजपुरबाट विद्या राई, नेपालगन्जबाट कृष्ण्प्रसाद गौतम र मुस्ताङबाट विनोद त्रिपाठीको रिपोर्ट :

पाल्पा– स्थानीय निकायमा कुन पार्टीबाट कसकसले टिकट पाउलान्, कसले चुनावमा जित्ला, कुन तहमा कसको बर्चस्व रहला भन्ने विषय चोक, कार्यालय, सार्वजनिक स्थल र गाउँघरमा बहस हुन थालेको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सर्वसाधारण खुसी छन् । राजनीतिक दल गाउँ र नगरपालिका जित्ने योजना बुन्न सुरु गरेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले गाउँ तहका भेला, छलफल गरेका छन् । स्थानीय तहको निर्वाचनले विकासका काम बढ्नेमा जनता ढुक्क छन् ।

‘हामीले सबै स्थानीय तहमा भेला गरिसकेका छौं,’ माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नेत्रप्रसाद पाण्डेयले भने, ‘चुनावी माहौल तातेसँगै फागुनको अन्तिम साता जिल्ला भेला गर्दैछौं ।’ उनले सबै तहमा उम्मेदवारसमेत लगभग तय भइसकेको बताए । चुनावको मिछि घोषणाअघि नै कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावी सक्रियता देखाउँदै आएका थिए ।

६० गाविस र दुई नगरपालिका रहेको यस जिल्लामा आठ गाउँपालिका र दुई नगरपालिका गरी १० स्थानीय तह सिफारिस भएका छन् । निर्वाचन कार्यालयले पनि दलको दर्ता, मतदाता नामावली अद्यावधिक गरिरहेको छ । आफ्नो संगठन र विपक्षीको अवस्था बुझ्ने काममा दलका नेताहरू सक्रिय भएका छन् । पार्टीभित्र संगठन निर्माण, चुस्तदुरुस्त बनाउने, छलफल भेला आयोजना गरेको कांग्रेस सभापति वीरबहादुर रानाले बताए । कतिपय दलमा चुनावको तयारीमा जिम्मेवारीसमेत तोकिएको छ । एमालेले विभिन्न गाउँपालिका र नगरपालिकामा जिम्मेवारी तोकेको छ । माओवादीले नगर र गाउँपालिकाको भेला गरेको छ । कांग्रेसले जिल्ला प्रशिक्षणपछि गाउँतहको गतिविधिलाई तीव्रता दिएको छ । अन्य साना दल पनि आन्तरिक तयारीमा छन् ।

गाउँ पसे दलहरू
रुकुम– कांग्रेस सभापति प्रेमप्रकाश ओली जिल्लाको पूर्वी क्षेत्रको यात्रामा छन् । पूर्वमन्त्री, पूर्वसभापति लगायतका नेतालाई साथमा लाएका उनी आगामी वैशाख ३१ का लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रमका साथ गाउँ केन्द्रीत भएका हुन् । निर्वाचन मिति घोषणा भएको भोलिपल्ट पेउघाको पेदिखेतबाट चुनावी कार्यक्रम थालेका कांग्रेसका जिल्ला स्तरका नेताहरू त्यसयता गाउँमै केन्द्रित छन् । सरकारले निर्वाचन घोषणा गरेपछि निर्वाचन लक्षित कार्यक्रम अघि बढिरहेको सभापति ओलीले बताए । उनका अनुसार जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिलाई प्रस्तावित नयाँ गाउँ तथा नगरपालिकाको चुनावी कार्यक्रमको नेतृत्व गर्ने गरी खटाइएको छ ।

नेकपा एमालेले पनि पहिलो चरणमा स्थानीय स्तरका नेता कार्यकर्ताको प्रशिक्षण सकेको छ । स्थानीय निर्वाचनको विषयलाई लिएर गाउँको अवस्थाको बारेमा जानकारी लिने तथा निर्वाचनको तयारीलाई तीव्र बनाउने उद्देश्यसहित दुईवटै निर्वाचन क्षेत्रका अगुवा नेता कार्यकर्तालाई एमालेले प्रशिक्षण दिएको छ । एमाले अध्यक्ष विमलकुमार पुनले जिल्लामा रहेका केन्द्र तथा जिल्ला स्तरका नेता निर्वाचनमा केन्द्रित भइरहेको बताए । स्थानीय तहको निर्वाचन घोषणासँगै विभिन्न ठाउँमा गरिएका कार्यक्रममा एमालेमा प्रवेश गर्नेहरूको लहर चलेकाले नेता कार्यकर्ता उत्साहित बनेको अध्यक्ष पुनले बताए ।

स्थानीय तहको निर्वाचन जित्ने रणनीतिअनुसार माओवादी केन्द्रले धमाधम प्रस्तावित नगर, गाउँ तथा वडापालिका स्तरीय पार्टीको संरचना निर्माण गरिरहेको छ । जिल्लामा प्रस्ताव गरिएका नौवटै नगर तथा गाउँपालिका प्रमुख तोकी माओवादी वडा भेला तथा सम्मेलनमा लागेको छ । जिल्ला इन्चार्ज तेजबहादुर ओली आफैं चुनाव लक्षित कार्यक्रममा लागेका छन् । निर्वाचन घोषणापछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीबाट कार्यकर्तालाई सम्बोधन गराएको माओवादीले केही दिन ऊर्जा मन्त्री जनार्दन शर्मा र पूर्व आपूर्ति मन्त्री गणेशमान पुनलाई समेत गाउँ घुमाइसकेको छ ।

तीन चरणको सुरक्षा योजना
पर्वत– स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जिल्ला सुरक्षा समितिले अघिपछि र मतदान हुँदाको समय गरी तीन चरणको सुरक्षा योजना बनाउने निष्कर्ष निकालेको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको अध्यक्षतामा मंगलबार भएको बैठकले जिल्लाका संवेदनशील क्षेत्रसमेतलाई ध्यानमा राखेर चरणबद्ध सुरक्षा योजना बनाएको हो ।

‘वर्तमान शान्तिसुरक्षाको समीक्षा गर्दै सुरक्षा रणनीति कसरी बनाउने भनेर सबै सुरक्षा निकाय प्रमुखसँग गहन छलफल भएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले भने, ‘सुरक्षा जोखिमको पहिचान गरी निर्वाचन सुरक्षा योजनाको प्रतिवेदन बनाउने तयारीमा जुटिसक्यौं ।’ जिल्लाको समग्र सुरक्षा स्थितिको विश्लेषण गरी जोखिमयुक्त क्षेत्रको पहिचान गर्न ढकालकै संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलले १५ दिनभित्र जिल्ला सुरक्षा समितिसमक्ष मस्यौदा पेस गर्नेछ । कार्यदलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि सदस्य छन् । समितिले पेस गरेको मस्यौदाबमोजिम हरेक मतदान क्षेत्रमा मतदाता र प्रत्येक मतपत्रको सुरक्षा चुस्त बनाइने सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी मरासिनीले बताए । निर्वाचन सम्पन्न भई परिणाम नआउँदासम्म निर्वाचन कार्यालय, निर्वाचन अधिकृतका कार्यालय, तिनका सवारी साधन र निर्वाचन सामग्रीको समेत सुुरक्षालाई ध्यानमा राखेर सुरक्षा योजना बनाउन लागिएको मरासिनीले जनाए ।

युवालाई अवसर दिन माग
उदयपुर– स्थानीय तहको निर्वाचन घोषणसँगै ग्रामीण क्षेत्रमा युवालाई नेतृत्व दिनुपर्ने छलफल हुन थालेको छ । उदयपुरमा सिफारिस गरिएका चार नगरपालिका र चार गाउँपालिको क्षेत्रफल ठूलो भएको गुनासो स्थानीयले गरेका छन् ।

स्थानीय तहको निर्वाचन घोषणाले गाउँगाउँका युवामा उत्साह छाएको छ । लामो समयपछि हुन लागेको निर्वाचनमा मतदाता पनि युवा धेरै छन् । ‘पछिल्लो स्थानीय निकायको निर्वाचन ताका जन्मेका युवा अहिले मतदाता भएका छन्’ दुर्गम ग्रामीण क्षेत्रमा पर्ने ताम्लीछाकी १९ वर्षीय शकुन्तला राईले भनिन्, ‘पहिलोपटक मतादान गर्ने सौभाग्य मिल्दैछ ।’ पहिलो मतदानमै युवा नेतालाई मतदान गरेर विजय गराउन पाए युवा हुनुको महत्त्व पनि बढेर जाने उनले बताइन् । ‘मुलुकलाई बूढापाकाको नेतत्व होइन, युवाको नेतृत्व आवश्यक छ,’ हरिओम ट्राभल्सका चालक ३० वर्षीय प्रकाश बुढाथोकीले भने, ‘सडक सुरक्षासँगै गाउँको विकास युवाले नै गर्न सक्छन्, युवाले विकासको महत्त्व बुझेका छन् ।’

‘स्थानीय तहमा जनप्रतिनिधि नहुँदाको पीडा प्रौढ र वृद्धले भन्दा युवाले भोगेका छन्,’ सुन्दपुर ४ सुन्दपुरका ४३ वर्षीय रामकुमार चौधरीले भने, ‘विकास निर्माणमा युवाको चासो बढ्दै गएको छ ।’ पटक–पटकको निर्वाचनमा युवालाई राष्ट्रको कर्णधार भन्दै उत्साही बनाएर प्रयोगमात्रै गरिएको माओवादी केन्द्रका युवा नेता रमण भट्टराईले बताए । ‘तर युवालाई नेतृत्व, विकास र सत्ताको साझेदार बनाइएन,’ उनले भने, ‘त्यसैले मुलुकबाट युवा पलायन बढ्दै गयो, जसको कारण विकासनिर्माण ठप्प भए ।’ युवा पलायन रोक्न र गाउँको विकासका लागि उनीहरूकै नेतृत्वामा स्थानीय तहको जिम्मेवारी दिनुपर्ने उनले बताए ।

विकास हुनेमा आशावादी
भोजपुर– स्थानीय निकायको चुनाव हुने टुंगो लागेपछि गाउँगाउँमा खुसी छाएको छ । दुई दशकसम्म स्थानीय निकाय प्रतिनिधिविहीन बन्दा सास्ती खेप्दै आएका सर्वसाधारणलाई हुन लागेको चुनावले विकासमा आशा जगाएको छ ।राजनीतिक पहुँचका भरमा बजेट बाँडफाँड र सेवाकेन्द्र विस्तारले हैरान भएका जनतालाई चुनाव कोशेढुंगा सावित हुने सावित्रा माविका शिक्षक सन्तोष राईले बताए । ‘चुनावले सक्षम नेतृत्व छान्छ, दायित्वबोध गराउँछ, जसले गर्दा स्वतन्त्र रूपमा जिम्मेवारी हस्तान्तरण हुन्छ, बजेट फ्रिज हुँदैन र विकासले गति लिन्छ,’ शिक्षक राईले बताए ।
चुनिने प्रतिनिधि गाउँमै बस्ने हँुदा आवश्यकताको पहिचान गर्न सक्छन् । गाविस सचिव बाहिरबाट आएको कर्मचारी भएकाले अधिकांश परिचित हुँदैनन् । बढीजसो जिल्ला केन्द्रित हुने गर्दा आर्थिक वर्षको बजेट खर्च गर्न समेत सक्दैनन् । गाउँको समतामूलक विकासका लागि आफ्नै प्रतिनिधिको आवश्यकता खडकिएका बेला चुनाव सार्थक हुने नेपालेडाँडाका चन्द्रप्रकाश भण्डारीले बताए ।

देश

‘पहिले निर्विरोध, अब मतदान’

- विनोद त्रिपाठी

मुस्ताङ– पहिले–पहिलेका स्थानीय चुनावमा यहाँका गाविस प्रतिनिधि निर्विरोध चुनिन्थे । मुखिया प्रथाका कारण गाउँमा जो अगुवा हुन्थ्यो, त्यही नेता बनेर गाविसमा प्रतिनिधित्व गथ्र्यो । पार्टीभन्दा नाम चलेको व्यक्ति हेर्ने प्रचलन मुस्ताङको परम्परा हो । २०४९ र ०५४ मा भएका स्थानीय चुनावमा यहाँका सबै गाविसमा सहमति गरेर अधिकांश पदमा निर्विरोध भएका थिए । तर, अहिले उम्मेदवार संख्या बढी र पद कम भएकाले मतदान हुने पूर्वजनप्रतिनिधि बताउँछन् ।

सोह्र गाविसलाई घटाएर ५ गाउँपालिका बनाउने प्रस्तावले यहाँका पूर्वजनप्रनिधिलाई यसपालिको स्थानीय चुनावमा प्रतिस्पर्धा हुने लागेको छ । निर्वाचनका लागि यहाँका पूर्वजनप्रतिनिधि उम्मेदवार छनोट गर्न बैठक, छलफल सुरु गरिसकेका छन् । पार्टीभन्दा व्यक्तिलाई प्राथमिकता दिने चलन यसपालि पनि हुने तर, पार्टीकै आदेशअनुसार उम्मेदवार छनोट हुने पूर्वजनप्रतिनिधि बताउँछन् ।

यामप्रसाद थकाली जोमसोम गाविसका पूर्वउपाध्यक्ष हुन् । उनले ०५४ सालको निर्वाचनमा कांग्रेसबाट निर्विरोध चुनाव जितेका थिए । बिहीबार उनले गाउँका अगुवाहरू बटुलेर बैठक गरे । उनी आफैं पनि यसपालि उम्मेदवार बन्ने आकांक्षा बोकेका छन् । ‘अहिले प्रतिस्पर्धा होलाजस्तो छ, ‘बैठकपछि उनले भने, ‘चुनावमा उठ्ने मान्छे धेरै छन्, पद थोरै छ ।’ एमालेबाट निर्विरोध अध्यक्ष बनेका लक्ष्मीप्रसाद थकालीको मृत्यु भइसकेको छ । त्यतिबेला उक्त गाविसबाट राप्रपाका वीरेन्द्र थकालीलाई जिविस प्रतिनिनिधिमा पठाइएको थियो ।

मार्फा गाविसका पूर्वअध्यक्ष धनबहादुर पन्नाचन पनि ०५४ सालको स्थानीय चुनावमा निर्विरोध छानिएका थिए । उनले पनि अहिले निर्विरोध नभई मतदान हुने बताए । ‘गाउँमा एक से एक युवा उम्मेदवार बन्न तयार छन्, यसपटक त भोटिङ गर्नुपर्ला जस्तो देखियो,’ उनले भने, प्रतिस्पर्धा भए पनि राम्रो उम्मेदवारलाई जिताउने हो ।’

लेते गाविसका पूर्वअध्यक्ष बुद्धिप्रसाद शेरचनलाई यो पुनर्संरचनाका आधारमा जिल्लाको विकास हुने विश्वास लागेको छ । ‘धेरै गाविस भएर विकास हुने होइन, पाँचभन्दा अझ कम गाउँपालिका बनाए राम्रो हुन्थ्यो,’ उनले भने, थोरै पद हुँदा चुनावमा प्रतिस्पर्धा भएर राम्रो मान्छे चुनिन्छ नि ।’ सबै चुनावमा अन्य जिल्लाजस्तो यहाँ कुनै विवाद नहुने उनले बताए । उनी ०५४ सालमा कांग्रेसबाट निर्विरोध अध्यक्ष भएका थिए । लोमान्थाङ गाविसका पूर्वउपाध्यक्ष इन्द्रधारा विष्ट ०५४ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बनेर निर्विरोध जित्नेमध्येका हुन् । मुस्ताङी पूर्वराजखलकसँग जोडिएकाले पनि उनी चुनाव उठेपछि सबैले समर्थन गरेका थिए । ‘निर्विरोधका लागि सकभर प्रयास गर्छौं तर अहिले अलि प्रतिस्पर्धा होलाजस्तो छ,’ उनले भने, चुनावमा जो आए पनि गाउँको विकास गर्न सबै एकजुट हुनेछौं ।’ गाविसमा जनप्रतिनिधि नभएर विकास निर्माण हुन नसकेको उनले सुनाए । मुस्ताङमा ८ हजार ६ सय २७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

व्यस्त बन्दै निर्वाचन कार्यालयहरू
नेपालगन्ज– सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै मध्यपश्चिमका क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी व्यस्त बन्न थालेका छन् । निर्वाचन कार्यालयमा सुरक्षा निगरानी बढाइएको छ । सबै जिल्लामा मतदान केन्द्रको पुनरावलोकनको काम भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जले जनाएको छ ।

कार्यालयका अनुसार नगरपालिका र गाविसमार्फत मतदान केन्द्रको पुनरावलोकनको काम भइरहेको हो । क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले नयाँ संरचनाअनुसार निर्वाचन गर्नुपर्ने भएकाले गाविस र नगरपालिकालाई त्यसबारे एक साताको समयसीमा दिएर पत्राचार गरिएको छ । ‘स्थानीय निकायलाई राजनीतिक दलको सहमतिमा मतदान केन्द्र समायोजन गर्नुपर्ने, हटाउनुपर्ने, थप गर्नुपर्ने लगायतको निर्णय गरी जिल्लास्थित निर्वाचन कार्यालयमा पठाउन पत्राचार गरिएको हो,’ उनले भने, ‘स्थानीय निकायबाट आएका सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने मतदान केन्द्र सिफारिस समितिले निर्णय गरी एक साताभित्र आयोगमा पठाउने छ ।’ जिल्ला निर्वाचन कार्यालयमा सुरक्षा निगरानी बढाइएको र क्षेत्रीय कार्यालयमा सशस्त्र प्रहरीको क्याम्प बिहीबारबाट खडा गरिएको अधिकारीले जनाए । त्यसैगरी फागुन २३
गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने, दाबीविरोध गर्ने, त्रुटि सच्याउने काम जिल्लास्थित कार्यालयबाट भइरहेका छन् ।

देश

सरसफाइ मन्त्रीले टेरेनन् आचारसंहिता

- कान्तिपुर संवाददाता

गुलरिया– निर्वाचन आचारसंहिता लागू भएको भोलिपल्टै खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले त्यसको उल्लंघन गरेका छन् । मन्त्री सिंह निर्वाचन आयोगको अनुमति नलिई बर्दियाको विभिन्न कार्यक्रममा सरिक
भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले मन्त्रीले आचारसंहिता उल्लंघन गरेको जनाएको छ । मन्त्री सिंहले बिहीबार सानोश्री तारा तालस्थित कुसुम्बा खानेपानी तथा उपभोक्ता समितिको पाँचौं साधारणसभाको उद्घाटन गर्नुका साथै खानेपानी ट्यांकीको अवलोकनसमेत गरेका छन् । उनले बा१झ ८९९८ नम्बरको सवारी साधनसहित पाँचवटा अन्य सरकारी गाडी प्रयोग गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख पवन शाहीले मन्त्री सिंह आयोगबाट स्वीकृति नलिई विभिन्न कार्यक्रममा सहभागी भएको बताए ।
‘विकास निर्माणको उद्घाटन र शिलान्यास गर्न पाइँदैन,’ उनले भने, ‘साधारणसभा उद्घाटन गर्न पाइए पनि सरकारी सवारी साधनसहित आउँदा आयोगको अनुमति चाहिन्छ ।’ मन्त्री सिंह सदरमुकाम गुलरियाबाट करिब १४ किलोमिटर पश्चिम सानोश्री तारातालको कार्यक्रममा सरिक भएका थिए । आयोगले आचार संहिता लागू गर्दै सदरमुकाम बाहिरका कार्यक्रममा नजान मन्त्रीहरूलाई निर्देशन दिएको थियो ।

देश

एक्सपर्ट म्युजिकल फेस्टिबल

छोटकरी
- कान्तिपुर संवाददाता

बुटवल– एकताले संसार जित्न सकिन्छ भन्ने नारासहित यहाँ एक्सपर्ट मेगा म्युजिकल फेस्टिवल हुने भएको छ । आयोजक संस्थाका प्रबन्ध निर्देशक रोशन कँडेलले विभिन्न स्थानका कलाकारहरूलाई एकीकृत गरी बुटवलमा सांगीतिक महोत्सव गर्न लागिएको बताए । कार्यक्रममा डिजे शिशिर, ओसिन सिटौला, गिरिश खतिवडालगायतका कलाकार, एभासेज ब्यान्ड आदिको प्रस्तुति रहनेछ । बुटवल, दीपनगरस्थित सिद्धेश्वर माविको प्रांगणमा गरिने कार्यक्रममा प्रवेश नि:शुल्क गरिएको आयोजकले बताएका छन् ।

देश

दुर्घटनामा एकको मृत्यु

छोटकरी
- कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक– राजधानीबाट खाडीचौर आउँदै गरेको ना३ख ६९४५ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आइरहेको बा३१प ८५१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । घटनामा फुल्पिङडडा ५ का सोनाम तामाङको मृत्यु भएको हो । मोटरसाइकल चालक भक्तपुरका अमृत
खड्का र विजय भारती घाइते भएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरका चालक दुर्घटनालगत्तै फरार भएकाले सहचालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ ।

देश

गैंडा मृत फेला

छोटकरी
- कान्तिपुर संवाददाता

गुलरिया– चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया निकुञ्जमा गत वर्ष फागुन १९ गते स्थानान्तरण गरिएको गंैडा मृत अवस्थामा भेटिएको छ । बबई उपत्यकाको शिवपुर र सोधखोलाबीच धनुशेमा गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ । गैंडा लामो समयदेखि बिरामी भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । गैंडाको खागलगायत सबै अंग सुरक्षित रहेको जनाइएको छ । भण्डारीले कलेजो र फोक्सोमा समस्या भएका कारण गैंडाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । निकुञ्जका पशु चिकित्सकले गैंडाको शल्यक्रिया गरेका थिए । मृत्यु भएको गैंडाको कलेजो र फोक्सो अनुसन्धानका लागि चितवन निकुञ्ज लगिने भएको छ ।

देश

आरक्षबाट लागूऔषध बरामद

छोटकरी
- कान्तिपुर संवाददाता

पर्सा– पर्सा वन्यजन्तु आरक्षको वन क्षेत्रबाट सेना र आरक्ष प्रशासनको गस्तीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । नियमित गस्ती टोलीले बुधबार बिहान आरक्षस्थित भाठा खोला क्षेत्रबाट गाँजा र त्यसको धूलो जस्तो देखिने वस्तु बरामद गरेको हो । चरेसजस्तो देखिने १ सय ८५ किलो ६ सय ग्राम र गाँजाजस्तो देखिने वस्तु ३१ किलोग्राम फेला परेको आरक्ष प्रशासनले जनाएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बरामद भएको लागूऔषध गाँजा, चरेस वा गाँजाको धूलोजस्तो देखिए पनि यकिन गर्न गाह्रो भएकाले जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको बताए ।

देश

दुई डमरु मृत भेटिए

छोटकरी
- कान्तिपुर संवाददाता

गोरखा– बुंकोट–६ मजबारीमा चितुवाका दुई डमरु (बच्चा) बिहीबार मृत फेला परेका छन् । चितुवाको भालेले तिनलाई मारेको हुन सक्ने जिल्ला वन कार्यालयले जनाएको छ । स्थानीयले मृत डमरु देखेपछि प्रहरीलाई खबर गरेका थिए । पोथीसँग नजिक हुन चितुवाको भालेले बच्चालाई मार्ने भएकाले त्यस्तै घटना भएको हुन सक्ने जिल्ला वन अधिकृत जीवनाथ पौडेलले बताए ।

Page 9
देश

रित्तिँदै भाबरका जलभण्डार

- डीआर पन्त
डोटीका   भाबर   क्षेत्र  सहजपुरम ा पानी भर्न पालो पर्खिरहेका स्थानीय । तस् िबर : डीआर/ कान्तिपुर

बासपानी (कैलाली)– सुदूरपश्चिमका चार जिल्लामा फैलिएको भाबर क्षेत्रमा खानेपानी समस्या झन् चर्कंदो छ । कैलाली, कञ्चनपुर, डोटी र डडेलधुरामा पर्ने भाबरको माथिल्लो भूभाग अर्थात् चुरेमा वन विनाश र अन्य मानवीय हस्तक्षेपले पानी संकट गहिरिएको हो ।

भाबर प्रदेशले यी चार जिल्लाको २७ प्रतिशत भूभाग ओगटेको छ जहाँ ६ लाख मानिस बसोबास गर्छन् । यो भूखण्डमा पानीका अधिकांश मूल र मुहान सुक्दै गएका छन् । डोटी र डडेलधुराभन्दा तराईका कैलाली, कञ्चनपुरको भाबर क्षेत्रमा संकट बढी छ । यसको असर जिल्लाको दक्षिणी भूभागमा समेत सुरु हुन थालेको विज्ञले बताएका छन् ।

भूगोलविद् डा. अनिलबहादुर कुँवरका अनुसार भाबर प्रदेश चुरेमा हुने प्राकृतिक भूक्षयले ल्याएको ढुंगा र बलौटे माटोबाट बनेको हो । यसले माथिबाट झर्ने पहिरो र बाढी रोकेर तराईको उर्वरता जोगाउन मद्दत गर्छ । यो एक प्रकारले पानी भण्डारण गर्ने प्राकृतिक संरचना पनि हो तर मानव बस्ती बस्न लायक भूभागचाहिँ हुँदै होइन । ‘भाबरले चुरे र तराईबीच वातावरणीय सन्तुलन कायम गर्ने काम गर्छ साथै तराईको भूभागलाई उब्जनीयोग्य बनाउन आवश्यक पानीको आपूर्ति पनि यसले नै गर्छ,’ कुँवर भन्छन् । ०३० को दशकदेखि यो क्षेत्रमा बस्ती बस्न थालेको पाइन्छ । त्यसअघि भाबर क्षेत्र पूरै जंगल थियो । प्रकृतिलाई चुनौती दिने गरी भाबर क्षेत्रमा बस्ती बसेकैले चार दशकमै समस्या गम्भीर हुन पुगेको कुँवरको बुझाइ छ ।

दशक अघिसम्म भाबर क्षेत्रका बासिन्दाले खानेपानी आयोजना माग गरेको सरकारी रेकर्डमा खासै देखिँदैन । मानव बस्तीको चाप बढदै जाँदा पछिल्ला दिन संकट गहिरिएको हो । तीन दशकदेखि सुदूरपश्चिमको खानेपानी क्षेत्रमा कार्यरत इन्जिनियर परीक्षित श्रेष्ठ भन्छन्, ‘तराईको पानी भण्डारण हुने ठाउँमा मानव बस्ती बस्नु र चुरे क्षेत्रमा वन विनाश हुनुले अभाव बढेको हो ।’ उनका अनुसार चुरेको डिलदेखि बगेर आउने पानी भाबरमा आएर भूमिगत हुन्छ । यस क्षेत्रमा बस्ती सुरु भएपछि बिस्तारै पानी भण्डारण क्षमतामा ह्रास आउन थाल्यो ।

अहिले वर्षा, हिउँद जुनसुकै मौसममा कैलाली र कञ्चनपुरका भाबर बस्तीमा पानीको अभाव हुन्छ । यदाकदा उपलब्ध हुने थोरै पानीसमेत चुनायुक्त हुने गरेको छ । माटो पनि सजिलै पानी सञ्चित हुन नसक्ने खालको बलौटे बनेको छ । यसैकारण भाबरको जनजीवन सधैंका लागि चुनौतीपूर्ण देखिएको विज्ञले बताएका छन् ।

बाख्रापालन, जंगलबाट हुने सजिलो आय र तराई नजिकको भूभाग भएकाले यो ठाउँ लोभलाग्दो देखिए पनि पानी संकटकै कारण यहाँका बस्ती विस्थापित हुन धेरै समय लाग्दैन । इन्जिनियर श्रेष्ठको अनुभवमा भाबर क्षेत्रमा कतै पनि स्थायी बस्ती पाउन कठिन छ । पानीको स्रोत सुकेपछि अर्को ठाउँ सर्ने क्रम निरन्तर चलिरहेको छ । भाबरको पानीमा प्रशस्त चुना हुने भएकाले ठूलो लगानी गरी बनाइएका योजना पनि १/२ वर्षमै बन्द हुने गरेका छन् ।

कैलालीका पूर्वप्रमुख वन अधिकृत रमेशचन्द ठकुरी पनि भाबरलाई तराईको पानीको मुहान ठान्छन् । उनी भन्छन्, ‘ग्रेगर क्षेत्रमा मानव बस्ती र वन स्रोतको अत्यधिक दोहन हुन थालेपछि यो क्षेत्र बिस्तारै पानीविहीन बन्न थालेको हो ।’ खानेपानी डिभिजन कैलालीका वरिष्ठ इन्जिनियर गणेश उपाध्यायका अनुसार १० वर्षअघि प्रतिसेकेन्ड १ लिटरका दरले पानी बग्ने भाबर क्षेत्रका मूलमा अहिले दिनभरिमा पनि १ लिटर पानी बग्न छोडेको छ । ‘यो मानव सिर्जित दीर्घकालीन समस्या हो,’ उनले भने, ‘तराईमा केही वर्षअघिसम्म ४० फिटमा आउने पानी ८० फिट नाघिसकेको छ ।’

तीन दर्जन गाउँका नाउँमा ‘पानी’
’सुदूरका चार जिल्लामा फैलिएको भाबर क्षेत्रका ८० प्रतिशत गाउँका नामसँग ‘पानी’ जोडिएको पाइन्छ । कञ्चनपुरको कुवापानी (कवानी) बाट सुरु भएर डडेलधुरा, डोटी हुँदै कैलालीको चिसापानीसम्म भाबर क्षेत्रका प्राय: सबै ठूलासाना गाउँको नामसँग ‘पानी’ गाासिएको पाइन्छ । तर १० वर्षयता तिनै क्षेत्रका बासिन्दाले पानीकै निम्ति तड्पनुपरेको छ ।

कञ्चनपुरका कुवापानी, ज्यामिरपानी, सुखीताल, हर्रे पानी, झालेपानी, सेजपानी, वगुनपानी, धारापानी, मालुपानी, झिंगेपानी, खल्लापानी भाबर क्षेत्रका गाउँ हुन् । कैलालीमा पर्ने भाबर क्षेत्रमा त पानी जोडिएका अझ धेरै गाउँ छन् । कैलाली र कञ्चनपुरको सिमानामा रहेको गोजियापानीदेखि धौलेपानी, कुमपानी, बडेपानी, केलापानी, सिस्नेपानी, गुनेपानी, ठण्डपानी, पित्तेपानी, बाँसपानी, भ्यागुतेपानी, कालापानी, आमपानी, वामनपानी, बुढेपानी, वान्द्रेपानी, दोगाडपानी, टकरेपानी, धनीपानी, जुगेपानी, सिम्तीपानी, गंगटेपानी, ज्यामिरपानी र चिसापानीमा अहिले पानी पाइन छाडेको छ ।जता पानी छ, उतै बस्ती सार्ने क्रममा यसरी गाउँका नाम पानीसँग जोडेर राखिएका हुन् । डडेलधुरा र डोटीका भाबर क्षेत्रमा पनि यसरी पानी जोडिएका दर्जनभन्दा बढी गाउँ छन् ।

साताभरिका लागि पानीको जोहो
साता दिनको पानीको जोहो गर्न बाँसपानीकी १९ वर्षीया राधालाई भ्याइनभ्याइ छ । घरमा एक्ला बुबा छन् । आफू पर सर्ने दिन आइसकेको छ । बुबालाई साताजति पुग्ने पानी जम्मा गरेपछि राधा महिना दिनका लागि ढुक्क हुन्छिन् । गाउँदेखि झन्डै ४५ मिनेट टाढा रहेको धौलेपानीबाट पानी ओसार्नुपर्छ उनले । ‘आमा बितेको ७ वर्ष भयो, सानो भाइ धनगढीमा डेरा गरेर पढ्छ,’ राधाले भनिन्, ‘बुबा वृद्ध छन्, म पर सरेपछि पानी ल्याइदिने कोही हुँदैन ।’

पानी जोहो गर्नकै लागि भएजति समय खर्चनु अहिले भाबर क्षेत्रका अधिकांशको बाध्यता हो । राधाका बुबा ६७ वर्षीय धर्मसिंह भन्छन्, ‘कुन बेला मूल हराउँछ र अर्को बस्तीका लागि अर्को ठाउँ खोज्नुपर्ने हो, ठेगान छैन ।’ बाँसपानीमा १७ परिवार छरिएर बसेका छन् । गाउँमा बढी झैझगडा पानीकै विषयमा हुने गर्छ । पानी चोरीका घटना पनि निकै हुन्छन् । धर्मसिंह भन्छन्, ‘पानीकै समस्याले बसाइँ सरेको यो तेस्रो बस्ती हो । १९ वर्षअघि बझाङबाट भाबर क्षेत्रमा आएका हौं, कञ्चनपुरको ज्यामिरपानीपछि कैलालीको चुनेपानी अनि बाँसपानी आयौं ।’ अब यो बस्ती पनि पानीकै कारण छाड्नुपर्ने बाध्यता निम्तिन लागेको उनले बताए ।

देश

गैरपीडितलाई सुविधा

‘गैरसरकारी संस्थाले पीडितलाई घर फर्कन प्रोत्साहित गर्नु साटो विभिन्न प्रलोभन देखाएर शिविरमै बस्न उक्साए’
- हरिहरसिंह राठौर

धादिङ– जिल्लामा भूकम्पपछि विस्थापित भएर सदरमुकाम आउनेहरूका नाममा गैरपीडितले सुविधा उपभोग गरिरहेको पाइएको छ । पहिरो जोखिमले विस्थापितहरूले अहिले शिविर छाडिसके पनि गैरसरकारी संस्थाले वर्षौंदेखि सदरमुकाममा बसोबास रहेकाहरूलाई उक्त सुविधा बाँडिरहेका छन् ।
भूकम्पलगत्तै उत्तरी भेगका रीगाउँ, लापा, तिप्लिङ, सेर्तुङ, झार्लाङ, दार्खाबाट ५ सय घरधुरी सदरमुकाम झरेका थिए । विस्थापितलाई सरकारले जग्गा दिने प्रचार भएपछि सुरक्षित बस्तीका बासिन्दा पनि सदरमुकाम झरे । वर्षाैंदेखि सदरमुकाममै विभिन्न पेसा–व्यवसाय गरी बस्नेहरूले समेत शिविरमै गएर विस्थापित सूचीमा नाम लेखाए ।

राहतमै निर्भर हुनेको संख्या १ हजार ३ सय ९८ परिवार पुग्यो । वास्तविक विस्थापित परिवार घर फर्कंदै गए तर सदरमुकाम वर्षौंअघि बसाइँ सरेकाहरूले विस्थापितकै सुविधा हकभोग गरी शिविर छाडेनन् ।विस्थापितलाई घर फर्काउने योजनाअनुरूप प्रतिपरिवार १० हजार रुपैयाँ, लत्ताकपडा र अन्नपात पनि दिइएको थियो । तर गैरपीडितले शिविरमै बसेर अन्नपात खाइसके, त्यहाँबाट टसमस भएनन् । विस्थापित भएर आउनेमा बढीजसो युवायुवती मात्रै थिए । अधिकांश बूढापाकाले असुरक्षितै भए पनि बस्ती छाड्न मानेनन् । सरकारले सार्न सिफारिस गरिएका री, झार्लाङ र लापाका ८ बस्तीका बासिन्दाले क्षतिग्रस्त घर पुनर्निर्माण गर्न पहिलो किस्ता ५० हजार लिइसकेका छन् ।

पीडितलाई राहत दिने नाममा आएका गैरसरकारी संस्थाले उनीहरूलाई घर फर्कन प्रोत्साहित गर्नुको साटो विभिन्न प्रलोभन देखाएर शिविरमै बस्न उक्साउँदा यस्तो अवस्था निम्तिएको हो । कसैले सामूहिक अस्थायी घर, कसैले जग्गा किनेर स्थायी बस्ती, कसैले जग्गा भाडामा लिएर सामूहिक अस्थायी शिविर, लत्ता कपडा, खाद्यान्न, खाना पकाउने ग्यास र टेलिभिजन उपलब्ध गराए । यही मौकामा विभिन्न शिविरमा ‘चर्च’ पनि बनाइए । ‘विस्थापितहरू ओत लाग्ने छाना र जग्गा पाएपछि गाउँ जानुभन्दा यतै ज्यालादारी काम गरेर पाल्नैमा रमाए,’ दामगाडेस्थित अस्थायी शिविर निर्माण समितिका बुद्ध सिंह तामाङले भने । जग्गा किनेपछि आवास बनाइदिने भनिएपछि री गाँउबाट आएकामध्ये १ सय ७० जनाले विस्थापित शिविर बसेकै बाँझो जग्गा किने । उनीहरूलाई उक्त जग्गा आनाको १ देखि २ लाखमा खरिद गर्न लगाइएको थियो । त्यसपछि मकवानपुरस्थित इसाई संस्था राप्ती विकास समितिले प्रतिआवास ७० हजार खर्चेर १ सय ३४ वटा आवास प्रजिअ उमेशकुमार ढकालमार्फत हस्तान्तरण गराइसकेको छ ।
उक्त संस्थाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग अलग–अलग व्यक्तिका आवास निर्माण गरिदिने अनुमति लिए पनि एउटा बस्ती अर्को स्थानमा सार्ने र सामूहिक आवास निर्माणको अनुमति भने लिएको छैन । ‘यसरी प्लटिङ गरी सामूहिक आवास निर्माण गर्ने अनुमति हामीले दिएका छैनौं’, नीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत देवराज चौलागाईंले भने । संघसंस्थाले विस्थापितलाई आवास मात्रै होइन हरेक बस्तीमा २ वटा चर्च पनि बनाएका छन् । भूकम्पपछि मात्रै सदरमुकाममा १० वटा चर्च थपिएका छन् ।

‘सरकारी रेकर्डमा विस्थापित फर्किसकेका छन् । तीमध्ये कसले जग्गा किनेर बसाइँसराइ गर्छ, स्थानीय प्रशासनलाई थाहा हुन्न,’ सहायक प्रजिअ लीलाधर अधिकारीले बताए । सरकारी रेकर्डमा सबै विस्थापित फर्केको तथ्यांक भए पनि विभिन्न संघसंस्थाले विस्थापितका नाममा अझै पनि वैदेशिक सहयोग लिएर शिविर सञ्चालन गरिरहेका छन् ।

सदरमुकाम र वरपर अझै पनि ६ सय परिवार विस्थापित रहेको प्रहरीको रेकर्डमा उल्लेख छ । संघसंस्थाले मनग्गे राहत दिने भएपछि हालसम्म पनि सदरमुकामको धनसारपाखा, कुमालगाउँ, दामगाडे, रायोटार, सल्यानटार, आँपस्वारामा सामूहिक शिविर कायमै छ । ढोलामा ५५ घरधुरी विस्थापितका लागि आवास निर्माण हुँदै छ ।

देश

हुरीले भूकम्पपीडितको बिजोग

- कान्तिपुर संवाददाता

दोलखा– मध्याह्नदेखि चलेको हुरीबतासले जिल्लाभरको जनजीवन प्रभावित भएको छ । हुरी चल्न थालेसँगै जंगल र टहरामा आगलागी सुरु भएको थियो । प्रहरी नायब उपरीक्षक रविन कार्कीले हुरीका कारण सिप्रिङखोला जलविद्युत् आयोजनास्थलको आठकोठे टहरा जलेर नष्ट भएको बताए । उनले केही जंगलमा आगो फैलिएको जानकारी दिए । हुरीले छाना उडाएपछि स्थायी टहरामा बस्दै आएका भूकम्पपीडितको बिजोग भएको कार्कीले बताए ।

यस्तै हुरीले बिजुलीका पोल ढालेपछि जिल्लाभरि नै विद्युत् आपूर्ति बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण दोलखा शाखा प्रमुख शेरबहादुर सुनारका अनुसार हुरीले सुनकोसी, सिप्रिङ र चर्नावतीबाट उत्पादन हुने विद्युत् प्रसारण लाइनमा क्षति पुगेको छ ।
सिन्धुपाल्चोक– अचानक हावाहुरीसँगै हिमपात भएपछि जिल्लाको पूर्वीभेग लेकाली बस्तीका भूकम्पपीडित खुुला आकाशमा बस्न विवश छन् । जिल्लाका विभिन्न स्थानका टहरा हुरीले उडाएको छ । हिउँको चिसोले प्रभावित स्थानीय बासस्थान नै उडाएपछि झन् विपत्तिमा परेका छन् । ठूलोपाखर, मुडे, थुम्पाखर, पेटु, साँगाचोक बन्देउडाँडा, माङ्खा र तिब्बती सीमा तातोपानीका ५० भन्दा बढी भूकम्पपीडित आवासविहीन भएका छन् ।

‘जस्तापाता र बोराभित्र रखिएका सरसामान केही बाँकी रहेनन्,’ साँगाचोककी लालमाया थामीले भनिन् । प्रहरी निरीक्षक पञ्चमान बाखुका अनुसार हिमाली भेगका १० गाउँका टहरा उडाएका छन् । बाढीले तहसनहस बनाएर तग्रिन थालेको तातोपानी हुरीले थप तहसनहस बनाएको छ । जिल्लाभर हुरीले विपत्ति ल्याएको प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताए ।

गोरखा– हावाहुरीले बिहीबार भूकम्पपीडितका अस्थायी टहरा र घरगोठको छानो उडाएको छ । बारपाक, लाप्राक, गुम्दा, मान्वु, स्वाँरा, सौरपानी, सिम्जुङ, मुच्चोक, भच्चेक क्षेत्रका टहरा र छानो उडाएको स्थानीयले बताएका छन् । ‘हुरीले छाना उडायो,’ स्वाँराकी सलिना गुरुङले भनिन्, ‘दुई पटकसम्म हुरी आयो, यस्तो हुरी आएको त थाहा थिएन ।’ हुरीले धूलो उडाउँदा केहीबेर बस्ती नै अन्धकार पारेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालयले पूर्ण विवरण प्राप्त हुन समय लाग्ने जनाएको छ ।

देश

कफी अनुसन्धान प्रभावहीन

- घनश्याम गौतम

गुल्मी– कृषि विज्ञ नहुँदा तीन वर्षअघि बलेटक्सार–१ भण्डारीडाँडामा खुलेको नेपालकै पहिलो कफी अनुसन्धान कार्यक्रम प्रभावहीन हुन पुगेको छ । कफीमा सेतो गवारोको समस्यासहित रोग नियन्त्रणको उद्देश्यले सञ्चालित कार्यक्रममा झन्डै ८ करोड रुपैयाँ खर्च भइसकेको छ ।

कार्यक्रमले अनुसन्धानका लागि २९ जातका कफीको बोट विकास गरेको छ । सेतो गवारो नियन्त्रण नहुँदा निराश बनेका जिल्लाका १८ सयभन्दा बढी किसान कार्यक्रम आएपछि उत्साहित थिए । १० जातका बीउबाट सुरु गरिएको अनुसन्धान २९ जातसम्म पुर्‍याइएको केन्द्रका वरिष्ठ वैज्ञानिक कृष्णबहादुर थापाले बताए । माउबोट, त्यसका हाँगा, बीउअनुसारको माटो, बिरुवा, उत्पादन र गुणस्तरसम्मको अनुसन्धानका लागि २ बागवानी विज्ञ, एक कीटविज्ञ र एक माटो विज्ञसहित ६ वैज्ञानिक र अन्य ८ कर्मचारी आवश्यक रहे पनि अहिले थापाबाहेक अन्य विज्ञ छैनन् ।

‘अहिले हामी बोट, फल, बीउ, माटो, बिरुवा, उत्पादनदेखि गुणस्तरसम्मको परीक्षणमा केन्द्रित छौं’, उनले भने, ‘तर, विज्ञ अभावले काम प्रभावकारी हुन सकेको छैन ।’ कार्यक्रमको १ सय रोपनी जग्गामध्ये ५० रोपनीमा कफीका २८ हजार बिरुवा परीक्षणका रूपमा उत्पादन भइरहेका छन् । बाँकी जग्गामा नर्सरीका लागि प्लटिङ र सिँचाइ व्यवस्थापनको काम भइरहेको छ । किसानका नर्सरीमा रोपेका बिरुवाले ४ वर्षमै फल दिने भए पनि अनुसन्धान कार्यक्रमपछि नयाँ बिरुवाले २ वर्षमै उत्पादन दिन थालेका छन् ।

‘अहिलेसम्म बालुवामा हुर्काइएको र तोरीको पिनालाई मलका रूपमा प्रयोग गरिएको बिरुवा उत्पादनका लागि प्रभावकारी देखिएको छ’, उनले भने, ‘बिरुवाका लागि सुरुमा खर वा परालको छाप्रो, त्यसपछि रूखको छहारी पनि राम्रो देखियो ।’अनुसन्धानबाट कफी बोटका लागि तोरीको पिनासँगै कुखुरा, गँड्यौला, बाख्रा र गाईभैंसीको मल प्रभावकारी देखिएको छ । प्रतिबोट तोरीको पिना २, कुखुराको मल साढे २, गँड्यौली मल ३, बाख्राको मल ४ र गाईभैंसीको मल ५ किलो आवश्यक पर्छ । सबै प्रक्रिया पूरा गरेर छानो र छहारीसहित हुर्केका बिरुवाले २ वर्षमै उत्पादन दिन थालेको कार्यक्रमले जनाएको छ ।

जिल्लाभर लामो समयदेखि नियन्त्रणमा आउन नसकेको सेतो गवारोले किसानका कफीको बोट ५० प्रतिशतभन्दा बढी नष्ट गरिसकेको छ । गवारोबाट मरेका बिरुवा डढाएर त्यसका स्थानमा कार्यक्रमको प्रविधिमा उत्पादित नयाँ बिरुवा रोप्नेबाहेकको विकल्प नभएको विज्ञ बताउँछन् । कार्यक्रमले किसानलाई नयाँ प्रविधिका बिरुवा उत्पादनमा लाग्न आग्रह गरेको छ ।

३५ वर्षअघि ५० पैसामा एक बोट कफी रोपेका बलेटक्सार–१ सिन्दुरेका भोजबहादुर रेस्मीले अनुसन्धान कार्यक्रमले बीउ, बिरुवाका लागि नर्सरी व्यवस्थापनमा सहयोग गरे पनि विज्ञ अभावले उत्पादन प्रभावकारी हुन नसकेको बताए । ‘३५ वर्षअघिदेखि सुरु गरेको हुँ,’ उनले भने, ‘नजिकै अनुसन्धान कार्यक्रम आए पनि प्राविधिक नआउँदा हाम्रा बारीसम्मै पुगेर सहयोग हुन सकेन ।’ उनको बगैंचामा अहिले पनि ६ सय बोट छन् । कफी बिक्रीबाटै वार्षिक २ लाख आम्दानी गर्दै आएको रेस्मीले बताए । ‘विज्ञ र प्राविधिक पूर्ण नभएसम्म कार्यक्रम प्रभावकारी हुनै सक्दैन’, एक्ला वैज्ञानिक थापाले भने, ‘जनशक्ति थप नगरे किसानलाई पनि केही दिन सकिँदैन ।’

देश

५ सय बढी चेलीको उद्धार

- कान्तिपुर संवाददाता

इलाम– पाँच वर्षमा मानव बेचबिखन तथा ओसारपसारमा परेका पाँच सयभन्दा बढी चेलीको इलामबाट उद्धार गरिएको छ । माइती नेपाल पशुपतिनगरका अनुसार दुई वर्षमा नाकाबाट ५ सय ५० जनाको उद्धार गरिएको हो ।

सन् २०१२ मा एक सय एक, सन् २०१३ मा ८८, सन् २०१४ मा एक सय, सन् २०१५ मा ९१ र सन् २०१६ मा एक सय ७० जनाको उद्धार गरिएको हो ।
नाकाबाट उद्धार गरिएकामध्ये १६ देखि २५ वर्ष उमेर समूहका भएको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताए । नाकामा उद्धार गरिएका धेरैजसो अविवाहित रहेको बताइएको छ । भूकम्प, बेरोजगारी, पढाइमा असफलतालगायत कारणले गर्दा मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेको संयोजक ढकालले बताए ।

उद्धार गरेर घर फर्काइएका महिला दोहोर्‍याएरसमेत दलालले लाने गरेको पाइएको छ । सन् २०१६ मा १ हजार ६ सय जनालाई नाकामा काउन्सिल गरी सुरक्षित यात्राका लागि सचेत गराइएको छ । संस्थाले बेचबिखन रोकथामका लागि इलामको आठ स्थानमा शाखा खोलेर स्वरोजगार बनाउने प्रयास जारी राखेको छ ।

देश

नर्सिङ सम्मेलन सुरु

- कान्तिपुर संवाददाता

धरान– नेपाल नर्सिंङ संघको १३ औं राष्ट्रिय सम्मेलन बिहीबार सुरु भएको छ । सम्मेलनमा ४६ वटा वैज्ञानिक कार्यपत्रहरू प्रस्तुत गरिँदै छन् । भारत, स्वीजरल्यान्डलगायतका नर्सहरू पनि सम्मेलनमा सहभागी छन् । संघका अनुसार काउन्सिलमा दर्ता भएकामध्ये हाल सरकारी जागिरमा १२ हजार नर्सहरू कार्यरत छन् । निजीमा २२ हजार छन् ।

देश

बालिकासहित चार बेपत्ता

- कान्तिपुर संवाददाता

रुकुम– सदरमुकाम खलंगामा जारी मध्यपश्चिमाञ्चल रुकुम महोत्सव हेर्न आएका एक बालकसहित चार जना चार दिनदेखि बेपत्ता छन् । गत सोमबारदेखि मुसीकोट नगरपालिका–३, सिस्नेखोलाका २० वर्षीया कल्पना गिरी, १९ वर्षीया कल्पना केसी, उनकी एकवर्षे छोरी कुशुम र १५ वर्षीया गौरी गिरी सम्पर्कमा नरहेको परिवारले जनाएको छ । कल्पना केसी मुसीकोट नगरपालिका–६, कोलटाकुरास्थित घरबाट छोरी सहित सिस्नेखोलामा रहेको माइती गएकी थिइन् ।

महोत्सव हेर्न भन्दै परिवारकै सल्लाहमा घरबाट हिँडेका उनीहरू बेपत्ता भएको कल्पना गिरीका पति रोहितले बताए । दिनभर मेला हेरेर साँझ बहिनी कल्पनाको घरमा गएका हुन सक्ने भन्दै सोमबार सोधखोज नगरेको उनको भनाइ छ । उनीहरूले मंगलबार चारै जनाको हुलियासहित प्रहरीलाई जानकारी गराएका छन् ।    

Page 10
शिक्षा

प्राविमा १४ विद्यार्थी

रितिदै विद्यालय
- आश गुरुङ
लमजुङको बेंसीसहर–१२, तल्लोसाम्दीस्थित बालरत्न प्राविको कक्षा ४ मा एक जनाविद्यार्थीलाई पढाउँदै शिक्षिका । यहाँ कक्षा ४ मा पाँच विद्यार्थी भर्ना भएका छन् । तस्बिर : आश/कान्तिपुर

लमजुङ– बालरत्न प्राविको कक्षा ४ मा मुस्किलले रविन परियार मात्रै पढ्न आउँछन् । रेकर्डमा पाँच जना विद्यार्थी छन् । कक्षा ३ मा मुस्किलले दुई जना आउँछन् । रेकर्डमा पाँच जना नै छन् । ५ कक्षा नौ विद्यार्थी भए पनि चार जनामा सीमित छ । अरू पढ्नै आउँदैनन् ।

बेंसीसहर १२, तल्लोसाम्दीस्थित बालरत्न प्राविमा कक्षाकोठा भए पनि बाल विकास, कक्षा १ र २ को पढाइ सँगै राखेर हुने गरेको छ । रेकर्डअनुसार बाल विकासमा तीन, कक्षा १ मा सात र कक्षा २ मा पाँच विद्यार्थी छन् । तर, बाल विकासका तीन, कक्षा १ का तीन र कक्षा २ का एक विद्यार्थी मात्रै आउने गरेका छन् । प्रधानाध्यापक विष्णुमाया भण्डारीका अनुसार शैक्षिक सत्रको सुरुवातमा भर्ना भएका विद्यार्थी आएका छैनन् । ‘कोहीलाई अभिभावकले बोर्डिङ पढाउन लगे,’ उनले भनिन्, ‘कोही अस्थायी थिए, कहाँ गए थाहा भएन । कहिलेकाहीं त कक्षा शून्य हुन्छ ।’

गत शैक्षिक सत्रमा ३६ विद्यार्थी रहेको बालरत्नमा चालू शैक्षिक सत्रमा १८ जना भर्ना भएका हुन् । यीमध्ये विद्यालय आउने १४ जना मात्रै छन् । यीमध्ये पनि सबै विद्यार्थी स्कुल नआउने भण्डारीले बताइन् । ‘कहिलेकाहीं त तीनचार जना मात्रै हुन्छन्,’ उनले भनिन् । उनका अनुसार ६/७ वर्षअघि ५० जना थिए ।

उक्त विद्यालयका पूर्वप्रधानाध्यापक रामकृष्ण थापाका अनुसार २०५७ सालतिर डेढ सय विद्यार्थी थिए । ‘जनसंख्या बढदै गयो, विद्यार्थी घटदै गए,’ उनले भने, ‘विद्यालयको व्यवस्थापन राम्रो भए विद्यार्थीसंख्या घट्ने थिएन ।’स्कुलका विद्यार्थीमध्ये चार जना बाहुन–क्षेत्री समुदायका तथा १० जना परियार र विश्वकर्मा समुदायका हुन् । प्रधानाध्यापक भण्डारीका अनुसार केही समययता विद्यालय र अभिभावकबीच बढेको द्वन्द्वले अभिभावकले विद्यार्थीलाई विद्यालय पठाउन छाडेका छन् । तर, विद्यालयमा ‘दलित’ बालबालिकालाई दुव्र्यवहार गर्ने गरिएको अभिभावकको आरोप छ । शिक्षकले राम्रोसँग नपढाएको अभिभावकको आरोप छ । स्थानीय शान्ति परियारले पढाइ राम्रो नभएकाले नातिनातिनीलाई बोर्डिङमा पढाएको बताइन् । ‘बुहारीको कानको सुन बेचेर फी तिर्न कसैलाई रहर हुँदैन । पढाइ राम्रो भए पो त्यहाँ पठाउनु ?’ उनले भनिन् । अभिभावकका अनुसार अन्तै पढाउन लान्छु भने पनि सर्टिफिकेट दिँदैनन् । बरु फेल गराएर विद्यार्थी उही कक्षामा राख्ने गरेका छन् ।

‘यहाँ पढाइ नै हुँदैन । अन्त पढाउन लान्छु भन्न पनि नपाउनु ?’ स्थानीय काजीमान परियारले भने । अभिभावक विष्णु विकले १ कक्षामा पढदै गरेकी छोरीलाई बोर्डिङमा लगेर ‘प्ले ग्रुप’ मा राख्न बाध्य भएको बताइन् । स्थानीय टीका परियारका अनुसार ‘मिसले पिटेको’ भन्दै बालबालिका कहिलेकाहीं घरमा रुँदै आउने गर्छन् । दलित विद्यार्थीका लागि आएको छात्रवृत्ति रकम स्कुल ड्रेसमा कटाउने गरेको अभिभावकको गुनासो छ । स्कुल ड्रेसका लागि छुट्टै ५ सय रुपैयाँ मागेको उनले बताइन् । पढाउने क्रममा लट्ठी र हातले पिट्ने गरेको बालबालिका बताउँछन् । ती बालबालिकाका अनुसार स्कुलमा खाजाको व्यवस्था छ । अभिभावकले भने खाजा नामको नमुना मात्रै दिने गरेको लगाए ।

‘कताकताबाट विद्यार्थीको खाजाको लागि पैसा आउँछ । आफू मिठोमिठो खाने, बालबालिकालाई सधैं खोले र फाँडो खुवाउने ?’ स्थानीय जितबहादुर थापाका अनुसार शिक्षक विद्यालयमा नियमित आउँदैनन् । उक्त विद्यालयमा ३ जना सरकारी दरबन्दी, १ जना बाल विकास शिक्षिका र एकजना कार्यालय सहयोगी छन् । ती सबै महिला हुन् ।‘गाउँ र गाउँनजिकै भोजभतेर भएमा विद्यालय बन्द हुन्छ । म्याडमहरू र बालबालिकासँगै गएर नाच्छन्,’ उनले भने । उनका अनुसार चैत वैशाखमा पानीको समस्या हुँदा धारामा पानी आउँदैन । शिक्षिकाले कार्यालयभित्र गएर गाग्रीबाट पानी खान नदिने गरेको आरोप अभिभावकले लगाएका छन् ।

प्रधानाध्यापक भण्डारीका अनुसार स्थानीय टेकबहादुर बस्नेतले स्कुललाई जग्गा दिने मनसाय बनाएपछि अभिभावक विरोधमा उत्रिएका हुन् । स्कुललाई दिन लागेको जग्गा २०४२ सालको नापीमार्फत थापाले आफ्नो नाममा बनाएको पर्ती जग्गा हो । उक्त जग्गा फिर्ता हुनुपर्ने र गौचरनको रूपमा राख्नुपर्ने स्थानीयको माग छ । उक्त जग्गा ७ रोपनी १५ आना बढी छ । ‘सात रोपनी पन्ध्र आना यो जग्गा स्कुलले लिन्छु भनेको पनि छैन, उहाँ (टेकबहादुर) ले दिन्छु भनेपछि लिने निर्णय मात्रै गरेको हो,’ प्रधानाध्यापक भण्डारीले भनिन्, ‘त्यसपछि नानाथरी भनेर स्कुललाई बिगार्न खोजेका हुन् ।’

स्थानीय बासिन्दाले भने ‘दलित’ समुदायका शिक्षक राख्नुपर्नेसमेत माग गरेका छन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर बस्नेतले विद्यालयलाई धरापमा पार्ने हिसाबले गतिविधि भइरहेको बताए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन छोरा वा छोरी अनिवार्य विद्यालयमा पढेको हुनुपर्ने भए पनि बस्नेतका छोराछोरी उक्त स्कुलमा छैनन् । बेंसीसहर गाविस, नगरपालिकामा रूपान्तरण भएर चार वर्ष भए पनि वडा नं. १२ को तल्लोसाम्दीको उक्त विद्यालयको भित्ते बोर्डमा साविककै वडा नं. ४ कायम छ ।

शिक्षा

पाल्पामा पनि अवस्था उस्तै

- माधव अर्याल
पाल्पाका े नायरन मतलसे ६ स्थि त चण्डश् वरी प्राविमा कक्षा ४ मा एक जना विद्यार्थीलाई पढाउन े क्रममा शिक्षक ।तस्बिर  : माधव/कान्तिपुर

पाल्पा– नायरनमतलेस ६ को चौपारीस्थित चण्डेश्वरी प्राविको कक्षा ५ विद्यार्थीशून्य छ । कक्षा ४ मा एक जना छन् ।सुस्त मनस्थितिका ती विद्यार्थी सुमन रानालाई पढाउँदै गरेकी शिक्षक शारदा रानाले भनिन्, ‘कक्षा ५ मा विद्यार्थी छैनन् । कक्षा ४ को पनि एक जना मात्रै हो ।’अंग्रेजी माध्यमबाट पढाई हुने यो विद्यालयमा कक्षा ५ सम्म पढाउन ५ जना नै शिक्षक छन् । तीन जना दरबन्दीका हुन् । त्यसमा स्थायी एक जना मात्रै छन् । अरु दुई जना शिक्षिका अस्थायी हुन् । दुई जनालाई विद्यालयले निजी स्रोतमा राखेको छ ।

उक्त विद्यालयको नर्सरीमा पाँच तथा १, २ र ३ कक्षामा चार–चार विद्यार्थी छन् । प्रधानाध्यापक खडबहादुर झेडीले गाउँका बस्ती पातलिँदै र रित्तिदै गएपछि प्राविमा विद्यार्थी संख्या कमी भएको बताए । युवा जनशक्ति बाहिरिने र उनीहरूका श्रीमती आफ्ना बालबालिकाको भविष्य उज्ज्वल गराउन भन्दै सहरमुखी भएपछि यसतो समस्या आएको उल्लेख गर्दै उनले भने, ‘गाउँमा काम गर्न दु:ख भएपछि श्रीमान् विदेश जानासाथ सहर पस्ने चलन बढेको छ ।’

‘विद्यार्थीलाई पढ्ने वातावरण मिलाएकै छांै, गाउँमै बालबालिका छैनन्,’ शिक्षक शकुन्तला पन्तले भनिन्, ‘हाम्रोमा सबैलाई नि:शुल्क छ तर पनि यहाँ पढाउदैनन् ।’जिल्ला शिक्षा कार्यालयमा केही वर्षअघि बनाएको विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्यदलले विद्यार्थी नभएका विद्यालय गाभ्ने र घटुवा गर्ने काम गरेको थियो । पछिल्लो समय भने कार्यदल समिति सुस्ताएको छ ।‘गाउँका प्राविमा विद्यार्थी नहुनु भनेको बसाइँसराइँ नै हो,’ विद्यालयमा पुगेका शैक्षिक अगुवा रामेश्वर पन्थीले भने, ‘दोस्रो कारण पहिला जस्तो छोराछोरी धेरै पाउने अवस्था छैन ।’
सरकारी तथा सामुदायिक प्राविमा विद्यार्थी संख्या कम भएको चण्डेश्वरी मात्रै एक्लो होइन । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको शिक्षा कार्यालय पनि स्वीकार्छ । शिक्षाकै तथ्यांक अनुसार गाँडाकोट ३ को बालकल्याण प्राविमा २० विद्यार्थी छन् । गाँडाकोटकै कालिका प्राविमा १३, सिद्ध प्राविमा १६, शान्ति प्राविमा २३, पृथ्वी प्राविमा ११, शिवशंकर प्राविमा ११, नवदुर्गा प्राविमा १४, नवप्रतिभा प्राविमा १० र सत्य कालिका प्राविमा १३ विद्यार्थी छन् ।

त्यस्तै, सरस्वती प्राविमा १३, चण्डेश्वरी प्रावि हुमिनमा १४, बशिद्ध प्राविमा १३, चित्रेछाप प्राविमा १४, जनउद्धार प्राविमा २०, सपाङी प्राविमा १४, नवदुर्गा प्राविमा १३, नारायण प्राविमा १६, बराङी प्राविमा १२, बालकल्याण प्राविमा ९ तथा बसन्त आधारभूत र बसन्त प्राविमा १०/१० विद्यार्थी छन् ।
त्यस्तै दर्लमडाँडा माविमा १०, सरस्वती आधारभूत विद्यालयमा ११ जना प्रावि तहमा अध्ययन गर्छन् । कानुङ प्राविमा ७, बालज्योति प्राविमा ७, अरनिको आभारभूत विद्यालयमा ९ र सीता माविमा ८ विद्यार्थी छन् । सरस्वती प्राविमा १५, गाउँले प्रावि देउरालीमा १२ जनाछन् । यसै गरी, चरचरे प्राविमा ११, शिव प्राविमा १२, काफलबारी प्राविमा ५, जन प्राविमा १३, नवज्योति प्राविमा १३, गौरी प्राविमा १५, छेउफान प्राविमा १३ र भैरव प्राविमा १३ विद्यार्थी रहेको शिक्षाको तथ्यांकमा उल्लेख छ ।

शिक्षा ऐन/नियमावली बमोजिम एक शिक्षक बराबर ४५ विद्यार्थी हुनुपर्छ । विद्यालय सुधार योजना अनुसार एक शिक्षकले ४० जनालाई पढाउनुपर्छ । बिस्तारै गाविसको अध्ययन गरेर जिल्लाभरकै मिलान गर्ने योजना बने पनि अहिलेसम्म कार्यदलले काम अघि बढाएको छैन । जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी महेन्द्र सुवेदीले विद्यार्थी कम हुने ५० भन्दा बढी प्राविको हालत विगतमा गाभिएका विद्यालयको जस्तै छ । जिल्लाभर ४ सय ९९ विद्यालय छन्, जसमा करिब ६३ हजार ६ सय ३३ विद्यार्थीले अध्ययन गर्छन् । गत वर्षको शिक्षाको तथ्यांकमा भने ४ सय ९७ विद्यालयमा ६६ हजार ६ सय २१ विद्यार्थी अध्ययन गर्ने उल्लेख थियो ।

शिक्षा

पूर्वाञ्चलमा स्नातकमा कृषि विज्ञान

- कान्तिपुर संवाददाता

विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयले यो सत्रदेखि कृषिमा स्नातक तह (बीएससी एजी अनर्स) को पढाइ सुरु गरेको छ । यसले गर्दा कृषिको स्नातक तह अध्ययनका लागि पूर्वका विद्यार्थीले भरतपुर वा काठमाडांै धाउनु नपर्ने भएको छ ।

विश्वविद्यालयले मोरङको गोठगाउँमा यसैपालिदेखि गिरिजाप्रसाद कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिसर्च सेन्टर स्थापना गरेर कृषिको स्नातक तह पढाइ सुरु गरेको हो । सेन्टरमा भेटिनरी, फरेस्ट्री र डेरी टेक्नोलजीसम्बन्धी पढाइ पनि हुनेछ ।

चारवर्षे यो कोर्सका लागि विश्वविद्यालयले पहिलो वर्ष ४८ जनालाई भर्ना लिएको छ । यो संकायमा अर्को वर्ष ९६ जना भर्ना लिने विश्वविद्यालयले जनाएको छ । यो संकायमा पहिलो वर्ष २ सय ५० विद्यार्थीले छनौट परीक्षा दिएका थिए ।चार वर्षमा आठौ सेमेस्टरसम्म पढाइ हुनेछ । शुल्क भने ६ लाख ८ हजार रुपैयाँ लाग्नेछ ।

शिक्षा

‘संघीयतासंगै शैक्षिक नीतिमा परिवर्तन आवश्यक’

- लालप्रसाद शर्मा
संघीय राज्य संरचनामा शैक्षिक नीति तथा कार्यान्वयन विषयक गोष्ठीमा सहभागी । तस्बिर : कान्तिपुर

पोखरा– संघीयतासँगै विद्यालयदेखि उच्च शिक्षासम्मको संरचनालाई बदल्नुपर्ने सम्बद्ध विज्ञहरूले बताएका छन् । बदलिँदो परिवेशअनुसार प्रादेशिक तथा स्थानीय आवश्यकतालाई सम्बोधन गर्न औपचारिक, अनौपचारिक, प्राविधिक र व्यावसायिक शिक्षाको आवश्यकतामा जोड दिनुपर्ने उनीहरूले औंल्याएका छन् ।

चार नम्बर प्रदेशस्तरीय ‘संघीय राज्य संरचनामा शैक्षिक नीति तथा कार्यान्वयन’ विषयक दुईदिने गोष्ठीमा उनीहरूले यस्तो धारणा राखेका हुन् । गोष्ठीले पाँचबुँदे पोखरा घोषणापत्रसमेत जारी गरेको छ ।
सबै तहको शिक्षामा आर्थिक व्यवस्थापन तथा पारदर्शिता सुनिश्चत गर्न प्रदेश र स्थानीय रूपमा स्रोतको व्यवस्थापनका लागि शिक्षा करको व्यवस्था गर्नुपर्नेमा समेत गोष्ठीमा जोड दिइएको छ । सार्वजनिक–निजी साझेदारीको मोडेल विकास गरी स्रोतको साझेदारीबाट लक्षित समुदायसम्म गुणस्तरीय शिक्षा पुर्‍याउने, अनुसन्धान, अनुगमन तथा मूल्यांकनबाट विविधतालाई सम्बोधन हुने गरी शिक्षामा गुणस्तरको सुनिश्चितता गराउनुपर्ने घोषणापत्रमा जनाइएको छ । व्यवस्थापकीय स्वायत्ततामार्फत जवाफदेहिताको सुनिश्चितता, कुशल व्यवस्थापन, सुशासन एवं जनउत्तरदायी व्यवस्थापन प्रणालीको विकास गर्ने र स्थानीय सहभागितामार्फत स्रोतसाधनको पहिचान र न्यायोचित वितरणका लागि सामुदायिक नेतृत्व विकास गर्न नागरिक सञ्जाल बनाएर सेवा प्रवाह गर्ने संयन्त्र आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ ।

पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको आयोजना र युनेस्को काठमाडौंको सहयोगमा मंगलबार र बुधबार गोष्ठी चलेको थियो । गोष्ठीमा ४ नम्बर प्रदेशअन्तर्गत १० जिल्ला शिक्षा अधिकारी, क्याम्पस प्रमुख, प्राध्यापक, शिक्षकका पेसागत संघसंगठनका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, संस्थागत विद्यालयका सञ्चालक एवं प्रधानाध्यापकलगायत ६० भन्दा बढीको सहभागिता थियो । ‘संघीयतासँगै शिक्षालाई पनि सोहीअनुसार परिमार्जन गर्नलाई यो गोष्ठी महत्त्वपूर्ण हुनेछ,’ युनेस्को परामर्शदाता ओम शर्माले भने ।

संघीयतासँगै स्थानीयस्तर सुहाउँदो पाठयक्रम बनाएर प्राविधिक तथा जीविकोपार्जनमा सघाउने शिक्षाको आवश्यकता रहेको सहभागीले बताएका थिए । पछिल्लो समय स्कुल, क्याम्पस खोल्ने लहर चले पनि गुणस्तर खस्कँदै गएको र सरकारले पनि बजेट घटाउँदै लगेको प्रति चिन्ता जनाउँदै उनीहरूले मुलुक संघीयतामा रूपान्तरण हुन लागेको सन्दर्भमा प्रत्येक नागरिकको अपेक्षालाई समेट्दै अन्य विषयका अतिरिक्त शिक्षाका मुद्दालाई प्रमुखतासाथ उठाउनुपर्ने दायित्व रहेको बताए ।

संघीयतामा गइसकेपछि समयानुकूल पाठयक्रमलाई परिमार्जन आवश्यक रहेको सांसद प्रा.डा. गणेशमान गुरुङले बताए । ‘शैक्षिक संस्थामा दलीय भागबन्डा तथा लडाइँ हुँदा शैक्षिकस्तर खस्किँदै गएको छ,’ उनले भने, ‘उच्च स्तरीय शिक्षा आयोग गठन गरी संघीयतानुसार शैक्षिक नीति बनाएर कार्यान्वयन गर्नुपर्छ ।’ पार्टी र नेताका खल्तीबाट विश्वविद्यालय, क्याम्पस खोल्ने क्रम नरोकिए नेपालको उच्च शिक्षा ध्वस्त हुने उनले चिन्ता व्यक्त गरे । पूर्वसचिव महाश्रम शर्माले प्रधानाध्यापकलाई शिक्षक नियुक्ति र विद्यालय व्यवस्थापन समितिलाई फराकिलो नबनाएसम्म शिक्षामा सुधार हुन नसक्ने बताए । कार्यक्रममा विभिन्न ५ कार्यपत्र प्रस्तुत गरिएका थिए ।

Page 11
शिक्षा

कर्णालीका “डाक्टर्नी” आमाहरू

- तुलाराम पाण्डे

कालिकोटको मान्म ९, ताडी भौरेकुनाकी ८१ वर्षीया कृष्णकला पाण्डे गाउँभरिकै ‘प्रसूति विशेषज्ञ’ हुन् । कालो अक्षर चिन्ने अवसरसम्म नपाएकी उनले सयौं महिलालाई सुत्केरी व्यथा लाग्दा शिशु निकालेर बचाएकी छन् ।
‘हाम्रो पालामा अहिलेका जस्ता अस्पताल थिएनन्,’ गाउँभर नौली बजैका नामले परिचित वृद्धाले कान्तिपुरसँग भनिन्, ‘दुई सयभन्दा बढी बच्चा मैले नै तानेर सुत्केरी गराएँ हुँला ।’

बाल्यकालदेखि आमाले गर्ने सुडेनी काम देखेर आफूले पनि सिकेको र नि:शुल्क सेवा दिएको उनले सुनाइन् । त्यही सेवाको सम्मानस्वरूप अहिलेसम्म पनि उनी गाउँभरिकी ‘डाक्टरनी आमा’ हुन् । ‘अचेल त बूढी पनि भइयो,’ तीन छोरा, दुई छोरी, पाँच बुहारी र बाह्र नातिनातिनाकी अभिभावकले भनिन्, ‘बच्चा निकाल्न पनि अस्पताल जान थाले ।’ अचेल टाढाबाट बिरामी नआए पनि छरछिमेकमा बालबच्चा बिरामी भएपछि आफूलाई देखाउन ल्याउने गरेको सुनाइन् ।

पाखा ६ दलित टोलकी ७६ वर्षीया देउसरी दमाई पाखादाहाला भेककी चर्चित सुडेनी हुन् । उनी जातीय रूपमा दलित समुदायकी भए पनि जीवन बचाउने सबैकी ‘डाक्टर’ हुन् । उनी जाने घरमा दलित भनेर छुवाछुत हँुदैन । सबैले सम्मान गर्छन् । नि:शुल्क प्रसूति सेवा दिएबापत् गाउँघरमा हुने सानातिना उत्सव, विवाह ब्रतबन्धमा उनलाई नछुटाएरै बोलाउने गरिन्छ । ‘कसैले बच्चा जन्माउन नसकेपछि मलाई नै बोलाउँथे,’ देउसरीले भनिन्, ‘उल्टो फर्किएको बच्चालाई पनि सुल्टो बनाएर निकालें ।’उनले ५६ वर्षको अवधिमा गाउँमै बसेर ७ सयजति गर्भवती महिलालाई सुत्केरी गराएको गर्वसाथ सुनाइन् । जब कसैलाई प्रसूति व्यथाले च्याप्छ, देउसरीको खोजी हुने गरेको पाखा ५ की विजया विष्टले बताइन् । ‘यिनी त हामी सबैकी डाक्टर हुन्,’ सँगै बसेकी सुडेनी देउसरीको प्रशंसा गर्दै अनेम संघकी केन्द्रीय सदस्य विजयाले भनिन्, ‘पेटमा उल्टो भएको बच्चा सुल्टो बनाएरसमेत निकाल्थिन् ।’

स्वास्थ्यको पहुँच गाउँमा बढ्दै गएको छ । सरकारले ‘बर्थिङ सेन्टर’ समेत निर्माण गरेको छ । तर, उनको नि:शुल्क सेवा अझै भरअभर काम लागिरहेको विष्टले सुनाइन् । २० वर्षको उमेरदेखि सुडेनी काम गरेकी दमाईले अचेल भने गाउँको स्वास्थ्य चौकीमा मातृशिशु कार्यकर्ता र वडामा महिला स्वास्थ्य स्वयंसेविकाको व्यवस्था भएपछि फाट्टफुट्ट मात्र प्रसूतिको काम गर्नुपर्छ । उनी स्थानीय जडिबुटीको औषधि गरेर बिराम पनि निको पार्छिन् ।

देउसरीका पतिको २५ वर्षअघि निधन भयो । छोरा(बुहारी पनि छुट्टै बस्छन् । गाउँटोलमा जसलाई प्रसूति व्यथा लागे पनि बोलाउन आएपछि सल्लाको दियालो बालेर राति पाखाको भीर छिचोल्दै ४/५ घण्टासम्म हिँडेर उनी पुग्थिन् । ‘घरघरमा गएर सुत्केरी गराउनेबाहेक अरू केही काम हुँदैन थियो,’ उनले भनिन्, ‘गयो, बच्चा निकाल्यो । छोरी भए घर आइहाल्थें, छोरा जन्मिए ६ दिनसम्मै भोजभतेर नाचगान गरेर रमाइलो गरिन्थ्यो ।’ उनले छोरी जन्माउने आमालाई पनि घरपरिवारले हेला गर्ने गरेको अनुभव सुनाइन् ।

उनी कहिले त घरबाट निस्किएपछि १५/२० दिन पछि मात्र ३/४ जना बच्चाको न्वारान सकेर फिर्ता हुन्थिन् । ‘कहिले त घरमा झगडा पनि पथ्र्याे,’ उनले भनिन्, ‘अब जसले बोलाए पनि नजाने सोच्थें, बोलाउन आएपछि मनले मान्दैनथ्यो, जे काम गर्न लागेको भए पनि छाडेर हिँड्थें ।’ उनका पतिले गाउँमा लुगा सिलाउने र बाजा बजाउने गर्थे । खेतीपातीको काम धेरै नहुने भएकाले बच्चा निकाल्न जाँदा खुसीले दिएको चामल थापेर जीवन रमाइलोसग बितेको अनुभव छ उनीसँग ।    

द्वन्द्वग्रस्त गाउँ पिलीकी ७० वर्षीया देवकला मल्ल पनि चिनिएकी सुडेनी हुन् । अस्पतालको पहुँचबाट टाढा रहेको पिलीमा लामो समयदेखि प्रसूति सेवा दिने महिला र बालबालिकालाई हुने बिरामका लागि स्थानीय जडिबुटीको औषधिमुलो गरेर उनैले निको पार्ने गरेकी छन् । खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहकी दिदी देवकला गाउँमा ‘डाक्टरनी आमा’ भनेर चिनिन्छिन् । पिलीमा भएको माओवादीको आक्रमणमा परेर पति गुमाएकी उनलाई गाउँमा सबैले सम्मान गर्छन् । भोजभतेर निम्ता गर्न पनि नछुटाउने गरेको उनका छोरा पुत्रबहादुर मल्लले बताए । मल्लले छिमेकी गेला गाविसको गणेशकोट औलगेलासम्म पुगेर बच्चा तानेर आमाशिशु दुवैलाई बचाएको अनुभव सुनाइन् । उनको माइती डिल्लीकोट गएको बेला बच्चालाई ताप गालेको, पखाला चलेको जडिबुटीको औषधि माग्नेको भीड नै हुन्थ्यो । सशस्त्र द्वन्द्वमा माओवादीले पतिलाई गाउँमा बस्न नदिएपछि विस्थापित भएर सदरमुकाम मान्म आइन् । मान्ममा जिल्ला अस्पताल र निजी औषधि पसल भए पनि चिनेजानेका स्थानीय उनैकहाँ सेवा लिन जान्थे ।

३२ वर्षअघिको कुरो हो । दाहा ९ तलसेरीकी जयकला मल्ललाई दुई दिनसम्म सुत्केरी व्यथा लाग्यो । सुडेनी कौडा मल्लले हातले तानेर सुत्केरी गराइन्, डिलबहादुर मल्ल जन्मिए । उनी अहिले स्थायी शिक्षक छन् । कौडा ७० वर्षकी भइन्, जसको सेवाले जन्मिएका डिलबहादुरजस्ता धेरैले उनलाई आदर गर्छन् । उनैले जटिल प्रसूति समस्या पर्दा सहयोग गरेर कृष्ण र हस्त जन्मिएका थिए । कृष्ण अहिले डेनमार्क छन् भने हस्त काठमाडांैमा प्लस टु पढिरेहका छन् । उनले सामान्य प्रसूति व्यथा लागेका त ३/४ सयलाई सेवा दिएको सुनाइन् । गाउँघरका बालबच्चालाई बिमार लागे परम्परागत ‘ओख्तोमुलो’ (औषधि) गर्न उनीजस्ता सुडेनी गाउँगाउँमा छन् । केही ठाउँमा तिनै सुडेनी आमाहरू अहिले महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा पनि काम गरिरहेको स्वास्थ्यकर्मी कटक महतले बताए ।

यी र यस्तै सुडेनी अर्थात् कर्णालीका ‘डाक्टरनी आमाहरू’ प्रत्येक गाउँमा छन् । अशिक्षा, अभाव, गरिबी र विकटताले स्वास्थ्य सेवाको पहँुचबाट टाढा रहेका कर्णालीका कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा परम्परागत डाक्टरका रूपमा गाउँगाउँमा सुडेनी छन् । घरको माना खाएर समाज सेवाको कर्म गर्ने सुडेनीको योगदानको सेवाग्राहीले खुलेर प्रशंसा गर्छन् ।तिनलाई गाउँलेले ‘डाक्टरनी’ भन्छन् । तर, त्यो उपाधि कुनै विद्यालय र विश्वविद्यालयले दिएको नभई ‘धर्म’ गरेकाले स्वत:स्फूर्त पाएको हो । सरकारले नि:शुल्क स्वास्थ्य सेवाको व्यवस्था गरेपछि गाउँका केही ठाउँमा ‘बर्थिङ सेन्टर’ खुलेका छन् । केहीयता महिला स्वस्थ्य स्वयंसेविका खटाइएका छन् । परम्परादेखि सेवा गर्दै आएका सुडेनीलाई सरकारले वास्ता नगरे पनि समुदायले अझै तिनैमाथि बढ्ता विश्वास गरिरहेको जुम्लाका नन्दराम जैसीले बताए । ‘विकट बस्तीमा अझै सुडेनीले काम गरिरहेका छन्,’ उनले भने, ‘कर्णालीमा सुडेनी नभएको त गाउँ नै छैन ।’ उनले बिनाउपकरण हातले तानेर शिशु निकाल्नुपर्ने भएकाले जोखिमपूर्ण हुने पनि सुनाए ।

भरपर्दो र सुरक्षित प्रसूति सेवा नभएको कर्णालीमा जटिल प्रसूति व्यथा लाग्दा मृत्युवरणको विकल्प छैन । कालिकोटमा १० वर्षअघिसम्म सुडेनीका लागि वार्षिक तालिम हुने गरे पनि अचेल वास्ता हुन छाडेको पिली गाउँकी अर्की सुडेनी किन्नकला कार्कीको गुनासो छ । ‘पुरानी सुडेनी बूढी भयौं,’ कार्कीले स्थानीय लवजमा भनिन्, ‘नौली (ठिटीहरू) सिक्नै मान्दिनन् ।’ उनले कर्णालीका सबैजसो गाउँमा २० वर्षअघिसम्म सबैजसो शिशु जन्माउने काम सुडेनीकै भरमा रहेको सुनाइन् । ‘अहिले पो अस्पताल भनन लाग्या,’ उनले अतीत कोट्याइन्, ‘उही बेला गर्दैन भने पनि बाध्यता हुन्थ्यो ।’ हातले बच्चा निकाल्ने क्रममा केहीको मृत्यु पनि भएको उनले जानकारी दिइन् ।

कार्कीको माइती पाखा ५ विष्टवाडा हो । माइतीघरमा आमासँग सुत्केरी गराउने र जडिबुटीको औषधि बनाउने तरिका सिकेकी किन्नाको १३ वर्षको उमेरमा पिली गाउँका लल्ते कार्कीसँग विवाह भएपछि सुडेनी सेवा सुरु गरिन् । ‘सुरुमा सिक्दा रहरको काम थियो,’ भनिन्, ‘पछि बाध्यताको बन्यो, नगरी धरै नपाइने ।’ उनका पतिको गत वर्ष निधन भइसकेको छ । २०५४ को स्थानीय चुनावमा एमालेबाट वडा अध्यक्ष जितेका उनका पति पछि माओवादी बने ।

पिली आक्रमणको बेला गाउँकी जुनपुरा कार्कीलाई प्रसूति व्यथाले च्यापेपछि गोलाबारी छिचोल्दै सुत्केरी गराउन गएको अनुभव सुनाइन् उनले । ‘यो काममा दाम केही नहुने,’ ७६ वर्षीया वृद्धाले भनिन्, ‘सम्मान त कति हो कति ?’ प्रसूति गराउने क्रममा जटिल खालको समस्यामा दोष पनि पाइने गरेको सुनाइन् । सरकारी स्वास्थ्य सेवामा नागरिकको पहुँच नहुँदासम्म सुडेनीको योगदान महत्त्वपूर्ण भए पनि अचेल खासै भूमिका नरहेको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल वलीले बताए । ‘होम डेलिभरी (घरमै प्रसूति) त सुडेनीले नै गर्छन्,’ उनले भने, ‘हामीले निरुत्साहित गर्न गाउँगाउँमा बर्थिङ सेन्टर र माशिका (मातृशिशु कार्यकर्ता) को व्यवस्था गरेका छौं ।’ उनले कालिकोटका गत वर्ष ६८ प्रतिशतले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माएको दाबी गरे ।

सरकारले कर्णालीमा प्रसूति सेवासहित स्वास्थ्य सेवा नि:शुल्क दिएको दाबी गरे पनि स्वास्थ्य संस्था टाढा हुनु, त्यहाँ पुग्न यातायातको व्यवस्था नहुनु, दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुनु, आवश्यक औषधि र उपकरणको अभाव हुनु, भौतिक पूर्वाधार भवन, शौचालय, पानीको अभाव हुनु, दक्ष स्वास्थ्यकर्मी पनि नहुनुजस्ता समस्याले अझै ग्रामीण भेकका महिला घरमै असुरक्षित रूपले प्रसूति हुन बाध्य छन् ।

कालिकोटमा विगतको तुलनामा मातृ तथा शिशु मृत्युदरमा कमी आए पनि शून्यमा झार्न कठिनाइ भएको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्ला स्वास्थ्य कालिकोटका सूचना अधिकारी कृष्णकुमार विष्टका अनुसार विगतको तुलनामा स्वास्थ्य संस्थामा प्रसूति हुनेको संख्या पनि बढेको छ । स्वास्थ्य संस्थामा आएर प्रसूति हुने आर्थिक वर्ष ०७०/०७१ मा ४२ प्रतिशत रहेकामा गत वर्ष ६८ पुगेको छ भने यस वर्ष पुस मसान्तसम्म ४७ प्रतिशत पुगेको छ । आव ०७०/०७१ मा अपेक्षित जीवित शिशु ३ हजार ६ सय ७३ मा १ हजार ५ सय ४३, ०७१/०७२ मा ३ हजार ८ सय २५ मा ४ हजार १ सय ४२ अर्थात् ५६ प्रतिशत, ०७२/०७३ मा ३ हजार १ सय ८७ मध्ये २ हजार १ सय ६८ र चालू आवको पुस मसान्तसम्म ४७ प्रतिशत शिशु स्वास्थ्य संस्थामा जन्मिए ।

त्यस्तै, मातृमृत्यु दरमा पनि कमी आएको छ । ३ वर्षअघि ५ जना, २ वर्षअघि ४ जना, गत वर्ष शून्य र यस वर्षको पुससम्म ३ जनाको मृत्यु भएको छ । तीमध्ये एकको रिफर गरेर बाटोमा, एकको स्वास्थ्य संस्थामा र एकको घरमै प्रसूति हुन नसकेर मृत्यु भएको हो । २८ दिनसम्मको नवजात शिशुको मृत्यु पनि विगतको तुलनामा घटेको स्वास्थ्यकर्मीको दाबी छ । गत वर्ष २६ जना नवजात शिशुको मृत्यु भयो ।

शिक्षा

प्रजनन अधिकार कागजमा मात्रै

- अतुल मिश्र

नेपालको संविधानको धारा ३८(२) मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ’ भनिएको छ । धारा ५१ को (ञ)(३) मा ‘प्रजनन अवस्थामा आवश्यक सेवा सुविधा उपभोगको सुनिश्चिता गर्ने’ राज्यको नीति हुने व्यवस्था छ ।

तर, स्वास्थ्य मन्त्रालयकी प्रमुख कन्सल्टेन्ट गाइनोक्लोजिस्ट डा. पुष्पा चौधरी स्वयं स्विकार्छिन्, ‘मुलुकको एक चौथाइभन्दा बढी जनसंख्या प्रजनन स्वास्थ्य सेवाको पहँुचभन्दा धेरै टाढा छ ।’संविधानसँग बाझ्ने देशको अवस्थामा सुधार ल्याउन निकै गाह्रो छ । अझ सन्तान पाउन इच्छुक महिलाको १५ देखि २० प्रतिशतसम्ममा हुने बाँझोपनका हकमा त संविधानै मौन छ । ‘नि:सन्तानका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने खाँचो छ,’ डा. चौधरी भन्छिन् । उनका अनुसार करिब ३० प्रतिशतलाई सुरक्षित गर्भपतनबारे जानकारी नै छैन । गर्भपतनले कानुनी मान्यता पाएको डेढ दशक बिते पनि अझै ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेको वातावरण स्वास्थ्य र जनसख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) ले हालै गरेको अध्ययनले देखाएको छ । यसले प्रजनन स्वास्थ्यको दयनीय अवस्थालाई दर्साउँछ ।

मातृत्वसँग जोडिएका सबै निर्णय गर्ने अधिकार महिलाको नैसर्गिक विषय हो । अधिवक्ता सविन श्रेष्ठका अनुसार यसले महिलालाई यौन तथा प्रजनन स्वास्थ्यवारे जानकारी, परिवार नियोजनको साधनमा पहुँच, गर्भपतन र सुरक्षित मातृत्व, बाँझोपनविरुद्घ, प्रजनन रुग्णता उपचार, आत्मनिर्णयलगायत प्रशस्त अधिकार दिएको छ । ‘सबैले प्रजनन स्वास्थ्य अधिकार उपभोग गर्न सक्ने स्थिति निर्माण गर्नु राज्यको दायित्व हो,’ उनी भन्छन् ।

विज्ञहरूका अनुसार महिलाको शारीरिक स्वास्थ्य, उमेर आदिलाई ध्यान नदिई आमा बन्न सुझाव दिने आमप्रचलन छ । छोराको चाहनामा बारम्बार गर्भपतन गराइन्छ । नचाहँदा नचाहँदै थुप्रै सन्तानकी आमा बन्न बाध्य पारिन्छ । कानुनले आफ्नो शरीरमाथि नियन्त्रण गर्ने अधिकार महिलालाई दिए पनि व्यवहारमा भने महिलाको शरीरमाथि अन्य व्यक्तिको नियन्त्रण हुने तीतो यथार्थ कायम रहेको श्रेष्ठ बताउँछन् । समाधानको उपाय तल्लो तहसम्म प्रजनन एवं प्रसूति स्वास्थ्य सेवा पुर्‍याउनु हो । ‘प्राथमिक स्वास्थ्य केन्द्रसम्ममै प्रजनन स्वास्थ्यसम्बन्धी आधारभूत सेवा र परामर्शको सुविधा हुनुपर्छ,’ डा. चौधरी सुझाउँछिन् । उनका अनुसार प्रजनन स्वास्थ्यमा उचित पहुँच र सेवा अभावले मातृ मृत्युदर, नवजात शिशु मृत्युदर, प्रजननसम्बन्धी जटिलता, पाठेघर मुखको क्यान्सर, आङ खस्नु, बाँझोपना, विभिन्न संक्रमण लगायत समस्या महिलाले भोग्नुपर्ने अवस्था छ ।
अधिकांश सार्वजनिक, सरकारी, सामुदायिक चर्पीहरू महिलाअनुकूल छैनन् । यसको मारमा सबैभन्दा बढी कामकाजी महिला र छात्राहरू पर्ने गरेका छन् । यसले गर्दा महिनावारी स्वच्छता व्यवस्थापन गर्न समस्या छ । यसले प्रजनन स्वास्थ्यमा प्रतिकूल असर पार्छ । महिनावारीका समयमा अलग्गै राख्नु, छुवाछुत गर्नु, उचित पोषण नपुर्‍याउनुजस्ता कुरीति अझै हट्न सकेका छैनन् ।

ग्रामीण क्षेत्रका महिलाहरूमा प्रजनन स्वास्थ्यसम्बन्धी धेरै समस्या देखिने गरिएको वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. चन्दा कार्की औंल्याउँछिन् । सरकारले ग्रामीण क्षेत्रमा प्रजनन स्वास्थ्यप्रतिको पहँुच बढाउनुपर्ने उनको पनि सुझाव छ ।

आव २०७२/७३ को तथ्यांक
   

  • २०७२/७३ मा ३,६०,२६८ जीवित शिशु जन्मिए । तीमध्ये ५,१८२ जना जन्मिँदै मृत थिए ।
       
  • ३,१७,२१२ जनाले नि:शुल्क प्रसूति सेवा लिए । १,७४,८६२ जनाले यातायात खर्च लिए ।
       
  • प्रसूति व्यथाले अस्पताल भर्ना भएका मध्ये १२० जनाको मृत्यु भयो ।
    स्रोत : स्वास्थ्य मन्त्रालय
Page 12
विदेश

किमको हत्यामा उत्तर कोरियाली पनि

किम हत्या प्रकरण
- एपी


चिनियाँ म्यागाजिनको ‘कभर’ मा किम जोङ नामको मुहारचित्र । उनको मलेसियामा रहस्यमय हत्या भएको थियो । तस्बिर : रोयटर्स

क्वालालम्पुर– उत्तर कोरियाका शासक किम जोङ उनका सौतेला भाइ किम जोङ नामको रहस्यमय हत्यामा सातजना उत्तर कोरियाली पनि संलग्न छन् भन्ने आशंकामा मलेसियाली सरकारले उनीहरूको व्यापक खोजबिन गरेको छ ।

तीमध्ये चार जना त नामको हत्या भएकै दिन मलेसिया छोडेर भागी उत्तर कोरिया नै फर्किसकेका अनुमान छ । खोजीमा परेका अन्यमा क्वालालम्पुरस्थित उत्तर कोरियाली राजदूतावासका द्वितीय सचिव र उत्तर कोरियाली सरकारको स्वामित्वमा रहेको एयर कोरियो विमान सेवाका एकजना कर्मचारी थिए ।

मलेसियाली राजधानी क्वालालम्पुरको व्यस्त विमानस्थलमा १३ फेब्रुअरीमा उनको रहस्यमय हत्या भएको थियो । हत्यालगत्तै पछि मलेसियाली सरकारले केही संदिग्ध व्यक्तिहरूलाई तत्कालै र अन्य शंकास्पदलाई केहीपछि पक्राउ गरेको थियो । नामको हत्या भएको चार दिनपछि गिरफ्तार गरी प्रहरीले हिरासतमा लिएको एकजना ४५ वर्षीय उत्तर कोरियाली नागरिक री जोङ कोलसँग हत्याकाण्डबारे लामो सोधपुछ गरिएको थियो । अभियुक्तको बयान र प्रहरी अनुसन्धानपश्चात् यस हत्याकाण्डमा कोलको संलग्नता भएको प्रमाण नभेटिएका कारण उनलाई हिरासत मुक्त गरिने भएको मलेसियाली सरकारी अधिकारीले जनाएका छन् । यसअघि, मलेसियाली सरकारले कोललाई पक्राउ गर्नुपर्नाको ठोस कारण कहिल्यै खुलासा गरेको थिएन ।

तर, मलेसिया भ्रमणमा आउन उत्तर कोरियाली नागरिकका लागि आवश्यक पर्ने वैध कागजपत्र कोलसँग मौजुद नभएको कारण देखाई उनलाई हिरासत मुक्त गरी तत्कालै उत्तर कोरिया नै फर्काइने भएको महान्यायाधिवक्ता मोहम्मद अपान्डी अलीले बताएका छन् । नातामा उत्तर कोरियाली शासकका सौतेनी भाइ पर्ने मृतक किम जोङ नामका दुईजना छोरा र एउटी छोरी गरी तीनजना छन् । उनले चीनको बेइजिङ र मकाउमा बेग्लाबेग्लै बसोबास गर्ने नातेदार महिलाकहाँ आफ्ना सन्तान पठाई त्यही नै पढाउँदै आएका जनाइएको छ । उनीमध्ये मकाउ बस्ने एक जनालाई भेटघाट गर्न जान भनी क्वालालम्पुर विमानस्थलमा उडान कुरिरहेको मौका पारी एकजना इन्डोनेसियाली र एकजना भियतानमेलीले नामको अनुहारमा विषाक्त रासायनिक पदार्थ भिएक्स नर्भ एजेन्ट छर्केर भागेका थिए । नर्भ एजेन्ट छर्किएको एक घण्टामै उनको मृत्यु भएको थियो ।

यसैबीच, मलेसिया सरकारले उत्तर कोरियाली नागरिकलाई प्रदान गरिँदै आएको प्रवेशाज्ञा (भिसा) सम्बन्धि नियममा पनि परिवर्तन गरेको छ । हालसम्म मलेसिया प्रवेश र भ्रमण गर्नका लागि उत्तर कोरियाली नागरिकलाई भिसा आवश्यक नपर्दै आएकोमा सो नियम खारेज भएको छ । उत्तर कोरियाली नागरिक बिनारोकतोक मलेसिया प्रवेश गर्न पाएका र यसले आफ्नो मुलुकमा अपराधका घटना वृद्धि हुनमा सघाएको पो हो कि भन्ने पछिल्लो समयमा सरकारको बुझाइ रहेको जनाइन्छ ।

भिसासम्बन्धमा उत्तर कोरियालीलाई दिइएको सहुलियत वा खुकुलो नियमलाई मलेसियाली सरकारले हालैको किम जोङ नाम–हत्याकाण्डसँग जोडेर हेरेको कारण यसअघिको नियम खारेज गरिएको जनाइन्छ । धेरैजसो मलेसियाली अपराधविज्ञहरूले नाम–हत्याकाण्ड प्योङयोङद्वारा रचना गरिएको षड्यन्त्र हो भन्ने आशंका गरेका छन् । नाम–हत्याकाण्डपछि उत्तर कोरिया र मलेसियाबीच गाँसिएको पुरानो दौत्यसम्बन्ध तुरुन्तै चिसिएर जानुका साथै दुई देशबीच राजनीतिक शीतयुद्ध सुरु भएको छ । यसअघि उत्तर कोरिया र मलेसिया विश्वसामु दुई अभिन्न मित्र र राजनीतिक साझेदारका रूपमा स्थापित भएका थिए । यसैका आधारमा उत्तर कोरियाली नागरिकका लागि भिसा नचाहिने संसारका साह्रै कम गन्तव्य देशमध्ये मलेसिया नै एक प्रमुख र सहज मुलुक थियो । धेरै वर्षसम्म उत्तर कोरियालीले मलेसियालाई एक मौन गन्तव्य मान्दै जागिर वा व्यवसायको अवसरको खोजी, अध्ययन वा पठनपाठन, उद्योग वा व्यापारको अवसरका लागि सुरक्षित भूमिका रूपमा उपयोग गर्दै आएका थिए ।

विदेश

विस्थापित बढे

- सिन्हवा

राष्ट्रसंघ– राष्ट्रसंघको मानवीय सहयोगसम्बन्धी निकायले उत्तरी इराकको दक्षिणी मोसुलमा भएको द्वन्द्वका कारण विस्थापित हुनेहरूको संख्या बढिरहेको जनाएको छ ।

फेब्रुअरी २५ देखि अहिलेसम्म दैनिक चार हजारको दरले उनीहरू विस्थापित भएका राष्ट्रसंघका प्रवक्ताले बुधबार बताए । ‘असुरक्षाका कारण विस्थापित भएका परिवारलाई शिविरमा राखेर मानवीय सहायता प्रदान गरिएको छ,’ उनले भने । उनले मानवीय सहायता साझेदार मात्रै त्यस क्षेत्रमा प्रवेश गर्न सफल भएको उल्लेख गरे । इराकी प्रधानमन्त्री हैदर अल अवाडीले गत जनवरीमा इस्लामिक स्टेटका लडाकुहरूविरुद्ध एक सय दिने लडाइँको घोषणा गरेका थिए । मोसुल इराकको राजधानी बग्दाददेखि ४ सय किमि उत्तरमा पर्छ ।

विदेश

सुडानमा नयाँ प्रधानमन्त्री

- सिन्हवा

खार्तुम– सुडानका राष्ट्रपति ओमर अलबसिरले बुधबार नयाँ प्रधानमन्त्रीका रूपमा प्रथम उपराष्ट्रपति बाक्री हसन सलेहलाई नियुक्त गरेका छन् । प्रथम उपराष्ट्रपति र प्रधानमन्त्री दुवै पदको जिम्मेवारी सम्हाल्ने गरी उनले सलेहलाई नियुक्त गरे ।

सत्तारूढ दल नेसनल कंग्रेस पार्टीका शीर्ष नेताहरूको बैठकले सलेहलाई दुवै पदको जिम्मेवारी दिने निर्णय गरेको राष्ट्रपतिका सहयोगी इब्राहिम महमोद हमिदले बताए । सलेहले यसअघि पनि विभिन्न मन्त्रालयको जिम्मेवारी र राजनीतिक पदहरूमा रहेका काम गरेका थिए । उनी २०१३ मा प्रथम उपराष्ट्रपतिसमेत बनेका थिए ।

विदेश

आक्रमणमा एक बालकसहित ४ को मृत्यु

- एएफपी
दक्षिण फिलिपिन्सको रुइसो जिल्लामा सैनिक अधिकारीहरू बिहीबार घटनास्थल अवलोकन गर्दै ।तस्बिर : रोयटर्स

बैंकक– थाइल्यान्डको दक्षिणी द्वन्द्वग्रस्त क्षेत्रमा बिहीबार एक विद्यार्थी, उनका बुवा, आमा र अन्य एकजना आफन्तको हत्या भएको छ । आफ्ना ८ वर्षीय छोरालाई नाराथिवात प्रान्तको एउटा विद्यालयमा पुर्‍याउन जान पिक–अप ट्रक हाँकिरहेका गाउँका उपप्रमुख, उनकी पत्नी र सालीसमेत आक्रमणमा परेका थिए । सशस्त्र विद्रोहीहरूले थापेको विद्युतीय धराप (एम्बुस) विस्फोटनमा परी उनीहरूको मृत्यु भएको प्रहरी तथा सैनिक स्रोतले बताएको छ ।

उनीहरू चढेको गाडीमा अन्य दुईजना पनि रहेकामा यी दुईजना भने त्यस आक्रमणबाट बँच्न सफल भएका छन् । एम्बुसमा पर्नुअघि उक्त गाडीलाई दुईजना सशस्त्र विद्रोहीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको दक्षिणी थाइल्यान्डको नाराथिवात प्रान्तमा एक दशकभन्दा बढी समययता सशस्त्र द्वन्द्व जारी छ । त्यहाँ मलेसियाली मूलका मुस्लिम विद्रोहीले द्वन्द्व मच्चाउँदै आएका छन् ।सशस्त्र आक्रमण र द्वन्द्वमा परी हालसम्म बौद्ध र मुस्लिम धर्मावलम्बी दुवै पक्षका कम्तीमा ६ हजार ८ सयको मृत्यु भइसकेको छ । यसमध्ये बढी संख्यामा सर्वसाधारण निर्दोष नागरिक परेका छन् । सशस्त्र द्वन्द्वमा होमिएका दुवै पक्षले एकअर्कालाई मानवअधिकार उल्लंघन वा दुरुपयोग गरेको दोषारोपण गर्दै आइरहेका छन् ।

 द्वन्द्वमा मलाया–मुस्लिम विद्रोहीहरूले थाई सुरक्षाकर्मी, स्थानीय अधिकारी, विद्यालयका शिक्षक, कर्मचारी र नेताहरूलाई आफ्नो निरन्तर निसाना बनाउँदै आएका छन् । थाइल्यान्डमा थुप्रै सानातिना विद्रोही समूहका अतिरिक्त बीआरएन फ्याक्सन नामक एउटा शक्तिशाली सशस्त्र विद्रोही संगठनको अस्तित्व रहेको छ । बीआरएनको समर्थनबिना कुनै पनि विद्रोही समूहले थाइल्यान्डको कुनै पनि कुनामा हतियार उठाउने वा सशस्त्र द्वन्द्व मच्चाउने हिम्मत गर्न नसक्ने विचार यहाँका राजनीतिक चिन्तक तथा विश्लेषकको छ ।

मलाया–मुस्लिम विद्रोहीले पनि बीआरएनकै आशीर्वाद पाएको अनुमान गरिएको छ । बीआरएन समूह र सत्तारूढ सैनिक जुन्ता सरकारबीच धेरैपटक शान्तिवार्ता र सम्झौता भए तापनि यस्ता वार्ता र सम्झौता प्रभावकारी भएका छैनन् । विगतका धेरै वर्षदेखि थाइल्यान्डमा राजनीतिक अस्थिरताले निरन्तर जरो गाड्दै आइरहेको छ । तत्कालीन निर्वाचित सरकारलाई २०१४ मा सैनिक विद्रोहद्वारा जबर्जस्ती अपदस्थ गरी सत्ता हातमा लिएको सैनिक जुन्ता सरकार थाइल्यान्डका सशस्त्र विद्रोहीलाई नियन्त्रण गरी देशमा शान्ति तथा सुव्यवस्था बहाली गर्न असफल भएको छ ।

विदेश

चीनको आँधीमा ६ को ज्यान गयो

छोटकरी
- सिन्हवा

चीन–चीनको जिआङ्सु प्रान्तमा बुधबार अपराह्न तुफानी मौसमका कारण ६ जनाको मृत्यु र २० घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । चीनको जिआङ्सु प्रान्तको बिसी र यान्चेङ सहरमा प्रतिघन्टा १ सय १० किमिको गतिमा तुफान आएको थियो । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भएको छ । स्थानीय सरकारले संकटकालीन उद्धारको व्यवस्था मिलाएको जनाइएको छ ।

विदेश

एक महिनामा ३८५ को मृत्यु

छोटकरी
- सिन्हवा

बग्दाद– इराकका लागि राष्ट्रसंघीय मिसनले फेब्रुअरीमा ३ सय ८५ नागरिकको मृत्यु भएको जनाएको छ । मिसनले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार त्यस अवधिमा ६ सय ९ जना घाइते भएका छन् । आतंककारीका गतिविधि र हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । तथ्यांकमा सुरक्षाकर्मीको संख्या भने जोडिएको छैन । मिसनले यसअघि सार्वजनिक गरेको तथ्यांकमा मृत्यु भएका सुरक्षाकर्मीको संख्या पुष्टि भएको थिएन । फेबु्रअरीको तथ्यांकमा इराकको पश्चिमी प्रान्त अनबारमा भएको हिंसामा मृत्यु हुनेहरूको संख्या पनि समावेश गरिएको मिसनले जनाएको छ ।

विदेश

युक्रेनको कोइलाखानीमा विस्फोट

छोटकरी
- सिन्हवा

युक्रेन– युक्रेनमा बिहीबार भएको कोइलाखानी विस्फोट भएको छ, जसमा परेका ८ जना कामदारको मृत्यु भएको युक्रेनले जनाएको छ । करिब २० कामदार खानीभित्र फसेका छन् । घटनास्थलबाट ६ जनालाई घाइते अवस्थामा उद्धार गरिएको युक्रेनी अधिकारीले बताए । युक्रेनको लभिव क्षेत्रमा रहेको खानीमा स्थानीय सयमअनुसार मध्याह्नमा करिब ३५ कामदार कार्यरत रहेका बेला उक्त विस्फोट भएको थियो ।

Page 13
समाचार

पोथी गिद्ध प्राकृतिक बासस्थानमा छाडिँदै

- अब्दुल्लाह मियाँ

काठमाडौं– चितवन निकुञ्जको मुख्यालय कसरास्थित ‘गिद्ध प्रजनन केन्द्र’ मा हुर्किए पनि बच्चा कोरल्न असफल गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलोपटक बच्चा कोरल्न अयोग्य ठहरिएका बाँझो ६ पोथी गिद्धलाई नवलपरासी, पिठौलीस्थित जटायु रेस्टुरेन्ट क्षेत्रमा छाड्ने तयारी गरेको छ । ‘आउँदो मार्च महिनामा सुरक्षित बासस्थानमा छाड्छौं,’ विभागका महानिर्देशक मनबहादुर खडाले कान्तिपुरसित भने, ‘केही समय तारबारले घेरेको ठाउँमा राख्छौं, पछि तिनलाई जंगलमै छाडिन्छ ।’ खोरभित्र हुर्किएका गिद्ध भएकाले एकैपटक जंगलमा छाडा जंगली गिद्धसँग आहारलगायतमा प्रतिस्पर्धा गर्न मुस्किल पर्न सक्छ । त्यसैले केही समय रेखदेख गर्नुपर्ने भएको हो ।

विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र नेपाल पन्छी संरक्षण संघ (बीसीएन) को सक्रियतामा करिब १० वर्षदेखि कसरामा गिद्धको संख्या बढाउने उद्देश्यले प्रजनन केन्द्र सञ्चालित छ । ‘प्राकृतिक बासस्थानमा गिद्ध छाड्ने कार्यक्रम (सन् २०१६ देखि २०१९)’ अन्तर्गत प्रजनन केन्द्रमा हुर्किएका ६ बाँझो पोथी गिद्ध (जोडी नभएका) लाई सुरक्षित प्राकृतिक बासस्थानमा छाड्न लागिएको हो । ‘सन् २०१९ सम्म २० गिद्ध छोड्ने लक्ष्य छ,’ बीसीएनका ‘गिद्ध संरक्षण कार्यक्रम’ अधिकृत कृष्णप्रसाद भुसालले कान्तिपुरसित भने, ‘यसो गर्दा प्राकृतिक बासस्थानमा गिद्धको संख्या पनि बढ्नेछ ।’ उनका अनुसार अहिले प्रजनन केन्द्रमा दुई वटा खोर (ठूलो पिँजडा) मा जम्मा ५७ गिद्ध छन् ।

एउटा खोरमा १२ भाले र १२ पोथी, अर्को खोरमा १३ भाले र १३ पोथी राखिएका छन् । खडाका अनुसार यस वर्ष १३ वटा पोथी गिद्ध ओथारो बसिरहेका छन् । बाँकी एकलाई पनि अर्को वर्ष छाडिनेछ । प्रजनन केन्द्रमा हुर्काइएका प्रजनन अयोग्य गिद्धलाई बिस्तारै सुरक्षित प्राकृतिक बासस्थानमा पुन:स्थापना गर्ने कार्यक्रमलाई अर्को वर्ष पनि निरन्तरता दिइनेछ ।

सन् २००८ देखि २०१० सम्म विभिन्न स्थानका गुँडबाट गिद्धका बच्चा ल्याएर कसरामा प्रजनन गराउन सुरु गरिएको हो । सन् २०१३ पछि अहिलेसम्म प्रजनन केन्द्रमा गिद्धका ५ बच्चा जन्मिइसकेका छन् । ‘प्रजनन केन्द्रमा जन्माउने र हुर्काउने काम चलिरहन्छ,’ भुसालले भने, ‘प्रजनन नगर्नेलाई पहिचान गरेर अर्को वर्ष पनि प्राकृतिक बासस्थानमा छाडै जानेछौं ।’ गिद्धको सामान्य आयु ४० वर्षको हुन्छ ।

समाचार

६ महिनामै उक्कियो कालोपत्र

- भरत जर्घामगर

सिरहा– सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीमार्फत सिरहा सदरमुकामस्थित थाना चोकदेखि पश्चिम हेमनारायण चोकसम्म निर्माण गरेको सडक ६ महिना नपुग्दै भत्किएको छ । सदिरमुकाम सरहाको मुख्य सडकमै कालोपत्र उप्किएर खाल्डाखुल्डी बढेपछि सर्वसाधारण सास्ती बेहोर्न बाध्य छन् ।

अन्य सहरी सडक शीर्षकअन्तर्गत सिरहा बजार सहरी सडक तथा भलुवाही–सारस्वरनाथ सडक गरी दुईवटा टुक्रे सडक गत असार मसान्तसम्म निर्माण सम्पन्न गर्न सडक डिभिजन कार्यालयले २०७२ चैत २६ गते चन्द्रमोहन कन्स्ट्रक्सन कम्पनी सिरहालाई ठेक्का दिएको थियो ।कालोपत्र बिछ्याउँदा ठेकेदार कम्पनीले दरभाउपत्रमा उल्लिखित मापदण्ड अनुसरण नगरेका कारण सडक भत्किएको स्थानीयको आरोप छ । सडकछेउ कारोबार गर्ने साना व्यवसायीले धुलोले हैरानी बेहोर्नुपरेको छ । ‘हामीले सिरहा सदरमुकामको मूल सडक बनाउने, भत्किने र फेरि ठेक्का लगाएर मर्मत गर्ने प्रवृत्ति १० वर्षदेखि हेर्दै आएका छौं,’ थानाचोकको सडकछेउ फलफूल व्यवसाय गर्ने रुमा अमात भन्छिन्, ‘यो सडकमा आएजति बजेट सबै खल्तीमै हाल्ने गरेका छन् अनि कहाँबाट हुनु विकास ?’

मिलेमतोमा काम
ठेकेदार कम्पनीले दरभाउपत्रमा उल्लिखित मापदण्डअनुसार काम नगरे पनि सडक डिभिजन कार्यालयले बेवास्ता गरेको, कार्यालयकै मिलेमतोमा गलत काम भएको स्थानीयको आरोप छ । सडक डिभिजन कार्यालयले गत आर्थिक वर्ष प्रकाशित गरेको सिलबन्दी दरभाउपत्र सूचनाको ठेक्का नं. ५६ अनुसार १२ लाख ६८ हजार रुपैयाँको अनुमानित लागत भएको उक्त शीर्षकको ठेक्का सूचीकृत दर (सेड्युल रेट) भन्दा ६ हजार कममा स्वीकृत गरेको थियो ।

‘दरभाउपत्र आहान गरिसकेपछि प्रतिस्पर्धा हुनुपर्नेमा त्यो देखिएन,’ स्थानीयले भने, ‘सेड्युल रेटभन्दा ६ हजार रुपैयाँ कममा सकार गर्नुमा कार्यालयकै मिलेमतो देखिन्छ ।’ सडक भत्किएको र अनियमितता भएको गुनासोपछि पनि सडक डिभिजनले कारबाही गर्नु साटो फागुन ५ गते चन्द्रमोहन कन्स्ट्रक्सनलाई बाँकी रहेको ६ लाख ७२ हजार २ सय ४५ रुपैयाँ भुक्तानी दिएको थियो ।

ढाकछोप गर्न अर्को टेन्डर
सडक कमजोर बनेको विषय ढाकछोप गर्न डिभिजनले चोहर्वा–सिरहा–माडर सडक खण्ड मर्मतका लागि भन्दै १६ लाखह ७२ जार ८ सय ८० रुपैयाँ ६२ पैसाको लागत अनुमानमा अर्को बोलपत्र सूचना जारी गर्‍यो । उक्त ठेक्का साह कन्स्ट्रक्सन कम्पनी सिरहाले ११ लाख २९ हजार ५ सय ६ रुपैयाँमा सकार गरेको छ ।

‘ठेक्काको मूल्यांकन हामी आउनुभन्दा अगाडि नै भइसकेकाले ठेकेदार कम्पनीलाई भुक्तानी दिनुबाहेक केही गर्न सक्ने अवस्था थिएन,’ डिभिजन कार्यालयका सूचना अधिकृत इन्जिनियर चितरञ्जन यादवले भने, ‘सम्भवत: यसपालि लागेको मर्मतको ठेक्काले बिग्रिएको त्यो सडक पनि बन्छ होला ।’ डिभिजन इञ्जिनियर रामकुमार देवले उक्त सडक निर्माणबारे अनभिज्ञता प्रकट गरे ।

समाचार

बीपी राजमार्ग क्षतिग्रस्त

- कान्तिपुर संवाददाता

सिन्धुली– कमला उच्च माविका शिक्षक बलराम बराललाई राजधानीबाट सिन्धुली आइपुग्न ९ घण्टा लाग्यो । उनी यसअघि चारदेखि पाँच घण्टामा राजधानी आउजाउ गर्थे ।

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–नेपालथोक खण्डको सित्तलपाटी ९ त्रिवेणीघाट नजिक कालोपत्रेसहितकै सडक भासिएपछि खोलिएको बाइपास सडकमा घण्टौं जाम पर्ने गरेकाले यात्राको समय लम्बिएको हो ।
झन्डै चार घण्टा जाममा परियो, शिक्षक बरालले भने, ‘एकतर्फी सडक सञ्चालनमा आएकाले जाममा फस्नुको विकल्प छैन । सवारीको चाप उत्तिकै छ । ३७ मिटर सडक सुनकोसीमा भासिएर झरेको छ ।

उक्त बाइपास सडक दुई किलोमिटरको हाराहारीमा छ । डबल गाडी पास हुने चौडा ट्रयाक नभएकाले पालैपालो सवारी साधन एकतर्फी आवतजावत गराएको प्रहरीले जनाएको छ । साना सवारी साधनबाहेक अन्यलाई भने निषेध गरिएको छ ।सिन्धुलीका अलावा पूर्वी नेपाल, मध्यपहाडी लोकमार्ग, जनकपुर अञ्चलका सबै जिल्लाका दैनिक सयौं साना सवारी साधन बीपी राजमार्ग भएर राजधानी आउजाउ गर्छन् । रुट परमिट पनि नभएको र जोखिम हुने भएकाले ठूला सवारी साधनलाई कडाइ गरिएको प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले बताए ।
बाइपास सडक फराकिलो नभएकाले जाम पर्ने गरेको हो । त्यसलाई चौडा गर्ने ठाउँ नै नभएकाले धसिएको सडक नबन्दासमेत कुनै विकल्प नभएको सडक आयोजना प्रमुख भरतकाजी देउजुले बताए । सडकको प्राविधिक चेकजाँच भई कन्सल्ट्यान्ट जापानिज कम्पनी निप्पोन कोइले काम गरिरहेको उनले जानकारी दिए । जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको बीपी राजमार्ग तीन वर्षअघि निर्माण सम्पन्न भई जापानले नेपाललाई हस्तान्तरण गरेको थियो ।

महोत्तरीको बर्दिबासदेखि सिन्धुली हुँदै धुलिखेलसम्मको १६० किलोमिटर पार गर्न कम समय लाग्ने गरेको भए पनि साँघुरो ट्रयाकका कारण जामले गर्दा यात्रुले सास्ती खेपेका छन् । अहिले महेन्द्र राजमार्ग भएर यात्रा गर्दा लाग्ने समय जत्तिकै लाग्न थालेको पूर्वी नेपाल हिंडेका एक यात्रुले गुनासो पोखे ।‘ठूला सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गरेर जान सुझाएका छौं,’ प्रहरी उपरीक्षक पञ्जियारले भने, ‘साँघुरो ट्रयाक भएकाले ठूला सवारी साधनलाई छोडदा दुर्घटना निम्तिन सक्छ ।’ भूकम्पका कारण जताततै भासिएर चिरा परी टालेर सञ्चालनमा ल्याइएको बीपी राजमार्गमा बढी भारवहन क्षमताका सवारी साधन चल्दा खतरा हुने प्राविधिकको भनाइ छ । बर्दिबास–सिन्धुली–बनेपा सडक आयोजना प्रमुख देउजुका अनुसार राजमार्गको भारवहन क्षमता १० टन भए पनि भूकम्पले चारवटै खण्डमा क्षति पुर्‍याएकाले ठूला सवारी साधन चलाउँदा खतरा हुन्छ ।

समाचार

बेलायती रक्षामन्त्रीको नेपाल भ्रमण तयारी

- कान्तिपुर संवाददाता

लन्डन– बेलायती रक्षामन्त्री मार्क ल्यानक्यास्टरको स्थगित नेपाल भ्रमण आगामी मे मा गर्न लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । बुधबार राजदूत डा. दुर्गाबहादुर सुवेदीले रक्षामन्त्रीलाई उनकै कार्यकक्षमा भेटी अन्तिम समयमा स्थगित भ्रमण मेतिर गर्न आग्रह गरेका हुन् । ल्यानक्यास्टर ५ दिने भ्रमणका लागि गत फेब्रुअरी ६ मा नेपाल उड्ने तयारी थियो । तर, अन्तिम समयमा संसद्मा ईयूबाट बेलायत बहिर्गमन (ब्रेक्जिट) बहसले व्यस्त हुनुपरेको जनाउँदै ल्यानक्यास्टरले भ्रमण स्थगित गर्नुपरेको जानकारी गराएका थिए ।
यसैबीच, मन्त्री ल्यानक्यास्टरले नेपाली दूतावासले मार्च १४ देखि २० सम्म गर्न लागेको साताव्यापी बेलायत–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्षगाँठ समापन समारोहमा आतिथ्य स्वीकार गरेका छन् । कार्यक्रम समापनका दिन २० मार्चमा मन्त्री दूतावास आउने भएका हुन् । साताभर बेलायत–नेपाल सम्बन्धबारे अन्तक्र्रिया, खाना, संगीत र साहित्यिक महोत्सव, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, भिजिट नेपाल युरोप २०१७ अभियान उद्घाटन, नेपाली हस्तकला प्रदर्शनी व्यापार एवं लगानी अन्तक्र्रिया, १३ भीसीको तस्बिर अनावरण आदि गरेर दौत्य सम्बन्धको दुई सय वर्षगाँठ समापन गर्ने तयारीमा दूतावास छ ।

 दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरणले रक्षामन्त्रीसितको भेटमा दूतावासका तर्फबाट भूपू गोर्खाहरूले राख्दै आएका समस्या र प्रमुख मुद्दाबारे पुन: स्मरण गराइएको जानकारी दिए । उनका अनुसार त्यस विषयमा मन्त्रीले सकारात्मक धारणा राखेका छन् ।

Page 15
अर्थ वाणिज्य

‘विकासका लागि लगानी महत्त्वपूर्ण’

- कान्तिपुर संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय वित्तमन्त्री अरुण जेट्ली बालुवाटारमा बिहीबार भेटवार्ता गर्दै । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

काठमाडौं– कुनै पनि मुलुकको विकासका लागि लगानी महत्त्वपूर्ण रहेको भारतका अर्थमन्त्री अरुण जेट्लीले बताएका छन् । राजधानीमा बिहीबारदेखि सुरु भएको लगानी सम्मेलनमा मुख्य वक्ताका रूपमा नेपाल आएका
जेट्लीले यसबाट रोजगारी सिर्जना र गरिबी घटाउन महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

‘लगानी बढ्दै जाँदा रोजगारी सिर्जना हुन्छ र यसले गरिबी पूरै नहटे पनि घटाउन मद्दत पुग्नेछ,’ उनले भने । उद्घाटनपछिको तेस्रो सत्रमा सहभागी हुन आइपुगेका भारतीय अर्थमन्त्री जेट्लीले मुलुकको विकासका लागि लगानी महत्त्वपूर्ण हुने बताए । ‘एउटा लगानी सफल भयो भने अर्को आउँछ । धेरै लगानी भयो भने रोजगारी सिर्जना हुन्छ,’ उनले भने, ‘भारतमा हामीले त्यही गरेका हौं ।’
उनले भारतमा पनि उदारीकरणसँगै लगानी बढेकाले विकास सम्भव भएको बताए । भारतले सन् १९९१ देखि उदारीकरण सुरु गरेको हो । विदेशी मुद्राको मौज्दात करिब दुई साताको आयात मात्रै धान्न पुग्ने अवस्थामा झरेपछि भारतले उदारीकरण सुरु गरेको हो । ‘सुरुमा बाध्यताबस उदारीकरण सुरु गरिए पनि अहिले यसले अर्थतन्त्रमा सुधार ल्याएको छ,’ उनले भने, ‘उदारीकरण अघि त हामी बाध्यतामा बाँच्न अभ्यस्त भइसकेका थियौं ।’

भारतले उदारीकरणका क्रममा विदेशी लगानी भित्र्याउनुका साथै सेयर बजार र कर प्रणालीमा सुधार ल्याएको थियो । उदारीकरणको प्रक्रियालाई प्राय: सबै सरकारले अगाडि बढाएको जेट्लीले बताए । ‘त्यसपछिका सरकारले कर प्रशासन सुधार निजीकरण आदि काम गर्दै गए,’ उनले भने, ‘विदेशी लगानीमा बढी जोड दिइएको छ ।’

हाल भारतले दुई विषयमा ध्यान दिइरहेको उनले बताए । ‘एउटा पूर्वाधार विकास र अर्को गाउँ गाउँमा सुधार । सन् २०१८ भित्र सबै गाउँमा विद्युत् पुर्‍याउनेछौं,’ उनले भने, ‘२०१९ मा सबै गाउँमा हरेक दिन चल्ने सडक बनाउनेछौं ।’ भारतमा करिब ३६ हजार गाउँ छन् । उनले हाल २ सय ५० राजमार्ग निर्माणका क्रममा रहेको बताए । यससँगै झन्डै ४ सय रेल प्लेटफर्म सुधार एवं निर्माणका क्रममा रहेको पनि उनले बताए । ‘बिस्तारै गाउँगाउँमा खानेपानीलगायतका अन्य आधारभूत सुविधा पुर्‍याउन प्रयत्नरत छौं,’ उनले भने ।

नेपालमा पनि विकासका सम्भावित क्षेत्रहरू धेरै रहेको उनले धारणा राखे । ‘प्राृकतिक स्रोत छ । ठूलो जनशक्ति पनि छ । नेपालको जनशक्तिले भारतको अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्‍याएको छ,’ उनले भने । उनले प्राकृतिक स्रोत साधन सम्पन्न मुलुकलाई विकास गर्न कठिन नभएको बताए । ‘तपाईहरूको सरकार लगानी बढाउन लागिपरिरहेको छ । यो निकै सकारात्मक कुरा हो ।’ नेपालको लगानी तथा विकासमा सहयोग पुर्‍याउन भारत सधंै सकारात्मक रहेको उनले बताए । ‘के के गर्नुपर्छ हामी तयार छौं । पूर्वाधार क्षेत्रमा सहयोग गर्न चाहन्छौं,’ उनले भने, ‘शिक्षा स्वास्थ्यजस्ता क्षेत्रमा पनि सहयोग गर्न भारत तयार छ ।’

जेट्लीले बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री कृष्णबहादुर महरासँग भेट गरेका थिए । अर्थमन्त्री महरासँगको भेटमा प्रतिबन्धित भारतीय नोट सटही र व्यापार विस्तारका विषयमा छलफल भएको थियो । सम्मेलनमा चीन, भारतसहित बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अस्ट्ेरलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रसिया, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत मुलुकका लगानीकर्ताहरूको सहभागिता रहेको छ । स्वदेशीसहित गरेर करिब एक हजार लगानीकर्ता सम्मेलनमा सहभागी छन् । सम्मेलनमा बहुराष्ट्रिय कम्पनीहरूको समेत सहभागिता रहेको छ । सम्मेलन उद्योग मन्त्रालय, लगानी बोर्ड र योजना आयोगले संयुक्त रूपमा आयोजना गरेको हो । सम्मेलनको उद्घाटन सत्रमा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लि कुले आफ्नो धारणा राखेका थिए ।

अर्थ वाणिज्य

फेरि जाग्यो आशा

नौमुरे बहुउद्देश्यीय परियोजना
- गिरुप्रसाद भण्डारी
प्यूठानको हंसपुर १ जाबुने र अर्घाखाँचीको जलुके सिमानामा पर्ने जलाशययुक्त नौमुरे परियोजनास्थल । तस्बिर : गिरुप्रसाद/कान्तिपुर

नौमुरे (प्यूठान)– २६ वर्षदेखि चर्चामा रहेको जलाशययुक्त बहुउद्देश्यीय नौमुरे जलविद्युत् परियोजना बन्नेमा आशा जागेको छ । २४५ मेगावाट क्षमताको उक्त परियोजनाको यस वर्ष प्रारम्भिक प्रतिवेदन बनेपछि निर्माण हुने आशा फेरि पलाएको हो । परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) गर्नका लागि नेपाल सरकार ऊर्जा मन्त्रालयले २० करोड रुपैयाँ विनियोजन गरेको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमण गएको बेला उपहारस्वरूप परियोजना बनाइदिने आश्वासन भारतले दिएको थियो । विद्युत् विकास विभागमा नौमुरे बहुउद्देश्यीय परियोजनाको प्रारम्भिक प्रतिवेदन पेस भइसकेको विभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्यले जनाए । उनका अनुसार विभागले प्रारम्भिक प्रतिवेदनको अध्ययन गरी विस्तृत प्रतिवेदन (डीपीआर) गरिनेछ ।

परियोजना कार्यान्वयनका लागि धेरै काम बाँकी भएको उनले बताए । ‘परियोजना कार्यान्वनका लागि सबैभन्दा पहिले डीपीआर बन्नुपर्छ,’ आचार्यले भने, ‘यसले परियोजनाको फिजिबिलिटी छ/छैन हेरिन्छ ।’ विस्तृत प्रतिवेदनमा विद्युत् उत्पादन क्षमता, खानेपानी, सिँचाइ, बाढी नियन्त्रण, प्रभावित क्षेत्रका बासिन्दालाई पर्ने असर, बिजुलीको समग्र प्रतिफललगायतका कुराहरू हेरिने उनको भनाइ छ ।

‘प्रारम्भिक प्रतिवेदनअनुसार यो आयोजनालाई निकै सस्तो र बहुउपयोगी परियोजनाका रूपमा हेरिएको छ,’ आचार्यले भने, ‘१ सय ६० मिटर उचाइको बाँध बाँधेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।’ प्यूठानको हंसपुर जाबुने र अर्घाखाँचीको जलुके गाविसमा पर्ने उक्त परियोजनाले प्यूठानको चकचकेसम्मको क्षेत्रलाई जलाशययुक्त बनाउने आचार्यको भनाइ छ । उनका अनुसार वर्षातमा जम्मा भएको पानी आयोजनाको तल्लो क्षेत्रमा रेगुलर अहिलेकै मात्रामा छाडिनेछ । परियोजनाबाट छिमेकी जिल्ला कपिलवस्तु क्षेत्रको ४० हजार हेक्टर क्षेत्रफलको सुख्खा जमिन र प्यूठानको बांगेसाल क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ ।

स्थानीयका अनुसार ०४४ देखि ०४६ सम्म प्राविधिक टोलीले हेलिकप्टरबाट नौमुरेमा आई परियोजनाको प्रारम्भिक सर्भे गरिएको थियो । ‘आयोजना बन्ला भन्ने ठूलो आशा थियो,’ बांगेसाल १ झिलीबाङ प्यूठानका हेमबहादुर पल्लीले भने, ‘वर्षौंदेखि सुनसान बनेको आयोजनाको फेरि चहलपहल सुरु भएको छ । अब बन्ने आस जागेको छ ।’ उनले ऊर्जा मन्त्रालयबाट दुई महिना पहिले अध्ययनका लागि प्राविधिक टोली आउँदा स्थानीय उत्साहित भएको बताए ।

कहाँ पर्छ नौमुरे ?
प्यूठानबाट बग्ने झिमरुक र माडी खोलाको संगमस्थल ऐरावतीबाट दुई किलोमिटर तल यो परियोजना स्थल छ । दुवैतर्फ कडा चट्टान र साँघुरो गल्छी भएकाले बाँध बाध्न उपयुक्त रहेको अध्ययन टोलीले जनाएका छन् । सन् २००७ मा परियोजनाबाट विद्युत् उत्पादन गर्नका लागि ३२ करोड अमेरिकी डलर लागत अनुमान गरिएको छ । बहुउद्देश्यीय निर्माण गर्दा लाग्ने लागत अध्ययनमै रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
सुख्खायाममा समेत २ सय ४५ मेगावाट विद्युत् निकाल्न्न सकिने अध्ययन टोलीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । प्यूठान–भालुबाङ सडक खण्डअन्तर्गत पर्ने बांगेसालबाट परियोजनास्थलमा पुग्न सकिन्छ । परियोजनालाई लक्षित गरी सडक डिभिजन कार्यालय प्यूठानले बांगेसालदेखि आयोजना निर्माणस्थल नजिकमा पर्ने हंसपुर ­१ को जाबुनेसम्म सडक निर्माण अघि बढाएको छ । चालु आवभित्रै सडक निर्माण पूरा गर्ने गरी काम अघि बढेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सुरेश न्यौपानेले बताएका छन् ।

अर्थ वाणिज्य

४० दिनभित्र ब्याजदर समान बनाउनुपर्नेल

- यज्ञ बञ्जाडे

काठमाडौं– आउँदो चैत मसान्तभित्र बैंक तथा वित्तीय संस्थाले कल डिपोजिट (माग तथा अल्प सूचनामा आधारित निक्षेप) र सर्वसाधारणले राख्ने बचत खाताको ब्याजदर समान बनाउनुपर्ने भएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ल्याएको उक्त व्यवस्था कार्यान्वयनका लागि परिपत्र जारी गर्दै बिहीबार राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । यो निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले नयाँ खोलिने ती दुई खातामा समान ब्याज दिन र यसअघि खोलिएको खाताको हकमा करिब ४० दिन (०७३ चैत मसान्तसम्म) भित्र एकै दर बनाउनुपर्नेछ ।

लगानीयोग्य रकम (तरलता) अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाले कल डिपोजिट र मुद्दती निक्षेपको ब्याजदर धेरै माथि पुर्‍याउँदा पनि बचतको ब्याजदर बढाएका थिएनन् । हाल बैंकहरूले मुद्दती र कल डिपोजिटमा अधिकतम १३ प्रतिशतभन्दा बढी ब्याज दिइरहेका छन् । तर, बचत खाताको ब्याजदर औसतमा ३ प्रतिशतभन्दा कम छ । यसरी बैंकहरूले असमान तरिकाले ब्याजदर बढाएपछि कल डिपोजिटमा बचत खाताको भन्दा बढी ब्याज दिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
यो निर्देशनले बैंक तथा वित्तीय संस्थालाई बचतको ब्याजदर बढाउन दबाब पर्नेछ । कल डिपोजिटमा रहेको बचत लामो समय नरहने भए पनि एकपटक दिइसकेको ब्याज छिटो अवधिमै घटाउन अप्ठेरो हुन्छ । यस कारण बैंक तथा वित्तीय संस्था बचतको ब्याज बढाउन बाध्य हुने जानकारहरूले जनाएका छन् । यसले सर्वसाधारण निक्षेपकर्तालाई केही राहत पुग्नेछ ।

युवाहरूलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी प्रवाह हुने थप कर्जा र उत्पादनशील क्षेत्रतर्फ प्रवाह हुने कर्जाको ५० प्रतिशतसम्मको रकमलाई कर्जा–निक्षेप (प्राथमिक पुँजीसहित) अनुपात (सीसीडी) रेसियोमा गणना गर्न नपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था कार्यान्वयनमा आएको छ । यो निर्देशनपछि वाणिज्य बैंकहरूले विपन्न वर्गमा सीधै प्रवाह गर्नुपर्ने २ प्रतिशत कर्जालाई पनि सीसीडी रेसियोमा समावेश गर्नु नपर्ने सुविधा पाएका छन् ।

सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथि पुगेपछि थप ऋण दिन नसकिएको भन्दै बैंकहरूले उक्त सीमा बढाउन राष्ट्र बैंकलाई माग गर्दै आएका थिए । उनीहरूको मागका आधारमा राष्ट्र बैंकले घुमाउरो पाराले सीसीडी रेसियो बढाइदिएको हो । ‘यो व्यवस्थापछि तत्कालै बैंकहरूलाई १ खर्ब २७ अर्ब रुपैयाँ लगानीयोग्य रकम प्राप्त हुनेछ,’ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले भनेको थिए ।
उक्त व्यवस्था तत्कालीन समस्या समाधानका लागि उपयुक्त देखिए पनि दीर्घकालका लागि हानिकारक हुने विज्ञहरूले बताएका छन् । राष्ट्र बैंकले सीधै सीसीडीको सीमा नबढाई घुमाउरो बाटोबाट खुकुलो बनाइदिँदा पारदर्शितामा प्रश्न उठ्नुका साथै सीसीडी रेसियोको गणना विधि पनि बिग्रिएको पूर्वबैंकर सोभनदेव पन्तले बताए । ‘यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई कृत्रिम निक्षेप खडा गरी ऋण प्रवाह गर्न प्रशस्त बाटो दिएको छ,’ उनले भने, ‘विगतमा म्यानुपुलेट गर्दै आएका बैंक तथा वित्तीय संस्थालाई यो व्यवस्थाले झनै प्रोत्साहित गर्छ ।’

यस्तै निजी सवारी खरिदका लागि बैंक तथा वित्तीय संस्थाले अब ५० प्रतिशतभन्दा बढी दिन नपाउने व्यवस्था पनि कार्यान्वयनमा आएको छ । तर, सार्वजनिक, निर्माण कार्य तथा सेवाका लागि प्रयोग हुने सवारी साधनको हकमा उक्त सीमा लागू हुने छैन । यसअघि बैंक तथा वित्तीय संस्थाले सवारी साधन खरिदमा ९० प्रतिशतसम्म ऋण दिँदै आएका थिए ।

ऋणीले एउटै मितिमा पेस गरेको वित्तीय विवरण एकभन्दा बढी पाइएमा बैंकिङ कसुर ऐनअन्तर्गत कारबाही हुने भएकाले त्यस्ता ऋणलाई खराब कर्जामा गणना गरी बैंक तथा वित्तीय संस्थाले शत प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ । ‘त्यस्तो कर्जा असुली प्रक्रिया तत्काल अघि बढाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । यो व्यवस्थाले विभिन्न प्रयोजनका लागि फरक–फरक वित्तीय विवरण बनाउने प्रवृत्तिमा कमी आउने देखिन्छ ।

‘साना तथा लघु व्यवसायलाई चल/अचल सम्पत्ति धितो लिई वा उद्यम/परियोजना धितो लिई बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने १० लाख रुपैयाँसम्मको कर्जालाई पनि विपन्न वर्गमा गणना हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि व्यावसायिक कृषि परियोजना धितोमा प्रवाहित १० लाख रुपैयाँसम्मको कर्जा विपन्न वर्ग कर्जामा गणना गरिने व्यवस्था थियो । राष्ट्र बैंकले ट्रस्ट रिसिप्ट कर्जा (टीआर लोन), विल्स, डिस्काउन्टिङ वा त्यस्तै प्रकृतिका आयात कर्जाको अधिकतम १ सय २० दिनसम्मको विद्यमान अवधिलाई ०७४ असार मसान्तसम्मका लागि बढाएर १ सय ५० दिन पुर्‍याएको छ ।

अब व्यक्तिगत ओभर ड्राफ्टमा बैंक तथा वित्तीय संस्थाले बढीमा ७५ लाख रुपैयाँ मात्र ऋण दिन सक्नेछन् । यसअघि ओभरड्राफ्टलगायतका रिभल्बिङ प्रकृतिका व्यक्तिगत कर्जा सुविधाको सीमा १ करोड रुपैयाँ थियो । हाल पुरानो सीमाअन्तर्गत प्रवाह भएको त्यस्तो कर्जा ०७४ असार मसान्तभित्र नयाँ सीमामा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

अर्थ वाणिज्य

४१ करोडको सेयर कारोबार

- कान्तिपुर संवाददाता

काठमाडौं– साप्ताहिक कारोबारको अघिल्लो दिन (बिहीबार) नेप्से परिसूचक १२.६१ अंकले बढेर १ हजार ३ सय २९.४१ मा उक्लेको छ । परिसूचक अघिल्लो दिनको तुलनामा झन्डै एक प्रतिशतले बढी हो ।
उत्पादन तथा प्रशोधन र ‘अन्य’ बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । तीमध्ये पनि होटल समूहको परिसूचक करिब ७ प्रतिशतले उकालो लागेपछि नेप्सेको वृद्धि सहज भएको हो ।

कारोबारमा आएकामध्ये ९२ कम्पनीको सेयर मूल्य बढ्यो, ३० कम्पनीको घट्यो र बाँकी १२ कम्पनीको सेयर मूल्य स्थिर छ । ४ हजार ७ सय ७५ कारोबारबाट १ सय ३४ कम्पनीका ९ लाख २८ हजार २ सय कित्ता सेयर खरिदबिक्री भए । उक्त किनबेचबाट ४१ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । योसँगै सेयर बजारको आकार १४ खर्ब ९८ अर्ब रुपैयाँ कायम भएको छ । उक्त दिन होटल समूहको परिसूचक सबैभन्दा बढी ६.८९ प्रतिशतले उकालो लाग्यो । यस्तै जलविद्युत् समूहको परिसूचक १.९२, बिमाको १.६४, बैंकिङको ०.९५, विकास बैंकको ०.७१ र वित्त कम्पनीको ०.६८ प्रतिशतले बढे । तर, ‘अन्य’ समूहको परिसूचक ०.७९ र उत्पादन तथा प्रशोधनको ०.१३ प्रतिशतले ऋणात्मक रहे ।

Page 16
अर्थ वाणिज्य

मध्यपहाडी सडकले व्यवसाय बढ्दै

- पूर्ण विके

बाग्लुङ– मध्यपहाडी लोकमार्ग वरपर सुविधा सम्पन्न होटल र लज खोल्नेतर्फ स्थानीयको रुचि बढेको छ । राष्ट्रिय प्राथमिकताको लोकमार्ग भएकाले कालान्तरमा उक्त मार्गमा ग्राहकको चाप बढ्ने ठानेर होटल र लज खोल्नतर्फ आकर्षित भएको उनीहरूले बताएका छन् ।

मध्यपहाडी लोकमार्गको १ सय ३७ किमि खण्ड बाग्लुङमा मात्रै पर्छ । सडक विस्तारसँगै वरपर पसल, होटल र लज सञ्चालन गर्नेहरूको आकर्षण बढदै गएको बाग्लुङ सडकखण्ड प्रमुख डिभिजन इन्जिनियर बद्रीप्रसाद शर्माले बताए । उनले भने, ‘सडक विस्तारसँगै आसपास बस्ती बढ्ने र व्यवसाय गर्न आउनेहरू बढेका छन् ।’

सडक खुलेलगत्तै ४० लाख लगानी बासको व्यवस्थासहितको होटल सञ्चालन गरेको बिहुँ ६ रिजालचोककी हस्तकला घर्तीमगरले बताइन् । घर्तीमगर परिवार अर्गलबाट यहाँ व्यवसाय गर्न आइपुगेका हुन् । ‘बाटो फराकिलो गर्ने काम भएपछि घर सल्लाह गरेर तीन कोठाको लज खोल्यौं,’ उनले भनिन्, ‘खानबस्न आउनेहरू बिस्तारै बढदै छन्,’ उनले भनिन्, ‘व्यवसाय जम्ने देखेर अरूले पनि धमाधम होटल–पसल खोलेका खोलेकै छन् ।’ पहिले–पहिले यस क्षेत्रमा होटलमा बास बस्ने चलन नभए पनि हाल टाढाका यात्रु र सवारी बास बस्न थालेको उनले बताइन् । लोकमार्ग वरपर अछेते, बिहुँ, हटिया, बुर्तीबाङ, ढोरपाटनलगायतको क्षेत्रमा बस्ती सर्ने र व्यवसाय गर्नेहरूको आकर्षण हवात्तै बढेको उनले बताइन् ।
बाग्लुङदेखि बुर्तीबाङसम्मको ८४ किलोमिटर सडक खण्डमा मात्रै पछिल्लो तीन वर्षमा मात्रै करिब २५/३० वटा होटल र लज सञ्चालन गरिएको उनले बताइन् ।

दैनिक उपभोग्य सामग्रीको व्यापार गर्नका लागि आफू २५ किमि पूर्वतर्फ पर्ने सदरमुकाम बाग्लुङदेखि मध्यपहाडी सडकको किनारा खोज्दै आएको व्यवसायी दीपेन्द्र श्रेष्ठले बताए । उनले रिजालचोकमा करिब ३० लाख लगानी गरेर किराना पसल चलाएका छन् । ‘यो बाटोको वरपर बस्ती भएको ठाउँमा व्यापार गर्ने मन थियो,’ उनले भने, ‘सबै दृष्टिकोणले यो ठाउँ ठीक छ, व्यापार चलेको छ ।’ आफ्ना ग्राहक सवारी साधनका यात्रु र स्थानीय बासिन्दा हुने गरेको उनले बताए ।

मध्यपहाडी लोकमार्गकै छेउमा ऐतिहासिक घोडाबाँधे नजिकै रंगेनीमा करिब ३० लाख लगानी भर्खरैबाट होटल व्यवसाय थालेका राजु थापाले सडक विस्तारसँगै आउजाउको चाप बढ्ने अवस्था रहेको बताए । ‘बाटोमा हिँड्नेको चाप बढेको देखेपछि होटल खोलेको हुँ,’ उनले भने, ‘अझै लगानी थपेर चलाउने योजनामा छु ।’ होटलमा दैनिक यात्रुले खाने र बास बस्ने गरेको उनले बताए । यस्तै मध्यपहाडी लोकमार्गमा पर्ने बिहुँपोखरामा भरत सापकोटाले फेन्सी पसल सञ्चालनमा ल्याएका छन् ।

मोटरमार्गको विस्तारसँगै उक्त क्षेत्रमा आफूलगायत दुर्गा काउचामगरले किराना पसल, बलबहादुर सुनारले सुन पसल र सुभास कँडेलले स्टेसनरी तथा भिडियो सेन्टरलगायत करिब १२/१३ वटा पसल गरिएको सापकोटाले बताए । मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डको अधिकांश स्थानमा होटल, किराना, फेन्सी पसल सञ्चालन गर्नेहरूको आकर्षण हवात्तै बढेको बिहुँ ६ स्थित अमरउच्च माविका सहायक प्राचार्य भीष्म कँडेलले बताए ।
अधिकांश मानिसहरूले अझै व्यापार गर्ने योजना बनाएर मध्यपहाडी लोकमार्ग वरपर बस्ती भएको क्षेत्रमा आउन चाहेको उनले जानकारी दिए । ‘मध्यपहाडी लोकमार्गको विस्तारसँगै यो मार्ग वरपर व्यापार गर्नेहरूको आकर्षण बढदै गएको छ,’ सहायक प्राचार्य कँडेलले भने, ‘मोटरबाटोसँगै विकास पनि गाउँमा भित्रिने रहेछ भन्ने ठानेका छौं ।’

अर्थ वाणिज्य

रसुवा भन्सार प्रमुखको पुनर्बहाली

- कान्तिपुर संवाददाता

रसुवागढी– सर्वोच्च अदालतको आदेशमा अर्थ मन्त्रालयका उपसचिव केदार पनेरु रसुवा भन्सार कार्यालयमा पुनर्बहाली भएका छन् । उनी बिहीबार भन्सारमा हाजिर भएका छन् । उनलाई मन्त्रालयले सरुवा अवधि नै नपुगी फिर्ता बोलाएको थियो । गत मंसिरमा काजमा मन्त्रालयमा हाजिर गराएर उनको स्थानमा गोपाल कोइरालालाई पठाइएको थियो । गत माघमा कोइरालालाई सरुवा गरी पनेरूलाई मन्त्रालयमा दरबन्दी कायम गरिएको थियो ।

कर्मचारी नियमावलीअनुसार दुई वर्ष नपुगी सरुवा गरेको भन्दै पनेरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनी उक्त भन्सारमा सरुवा भएको आगामी भदौमा दुई वर्ष पुग्दै छ । अदालतले पहिलेकै स्थानमा काम गर्न आदेश गरेपछि पनेरू भन्सारमा हाजिर भएका हुन् । सरुवा विवाद भएपछि मुलुकको उत्तरी नाका सञ्चालनमा समस्या भएको थियो । प्रमुखको विवादले तिब्बतको नयाँ वर्षपछि व्यापारिक कारोबार सञ्चालन हुन सकेको छैन । व्यापार बन्द हुँदा दुई सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा अलपत्र छन् ।

अर्थ वाणिज्य

चैत पहिलो साता अन्तर्राष्ट्रिय व्यापार मेला

- कान्तिपुर संवाददाता

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैत पहिलो साता राजधानीको भृकुटीमण्डपमा छैटौं अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ ।
मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक संस्थाहरूले आफ्ना उत्पादन प्रदर्शन गर्नेछन् । मेलामा समग्र व्यावसायिक क्षेत्रलाई समेट्ने प्रयास गरिने महासंघले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पशुपति मुरारकाले बताए ।

नेपाल हस्तकला महासंघ, नेपाल जडीबुटी उत्पादक संघ तथा हिमाली आयोजनाको सहआयोजनामा मेला हुन लागेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगममा मेला हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा कुल ३ सय ४० स्टल रहनेछन् । यसपालिको मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्यान्डलगायत कम्पनीले सहभागिता जनाउनेछन् । यसैगरी जापान र कोरियाका खरिदकर्ताले मेलाको अवलोकन गर्नेछन् । मेलामा चीनबाट ८५, भारत १०, पाकिस्तान २०, बंगलादेश ५०, थाइल्यान्ड २ वटा स्टल बुक भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

अर्थ वाणिज्य

स्ट्यान्डर्ड चार्टर्डद्वारा तिलगंगालाई सात लाख

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं– स्ट्यान्डर्ड चार्टड बैंकले तिलगंगा इन्स्टिच्युट अफ अफ्थ्याल्मोलजी (टीआईओ) लाई ७ लाख ८३ हजार १ सय ५२ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम टीआईओको परियोजना विस्तारमा सहयोग पुग्ने विश्वास बैंकले गरेको छ । ग्रामीण र सहरोन्मुख क्षेत्रहरूमा शल्यक्रियमार्फत अन्धता घटाउने उद्देश्यले परियोजना सञ्चालन गरिने जारी विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

हुन्डाई फेसटिभ डिलाइटका विजेता घोषणा

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं– हुन्डाई गाडीले ‘हुन्डाई फेसटिभ डिलाइट’ अफरको विजेताहरूको नाम घोषणा गरेको छ । नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा उक्त अफर ल्याएको थियो । सो अफरअनुरूप हरेक नाया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको नि:शुल्क बिमासँगै सयजना भाग्याशाली विजेताहरूले एक–एक तोला सुन र बम्परमा दुईजना भाग्याशाली विजेताहरूले एक–एक थान हुन्डाई इलाइट आई २० र हुन्डाई क्रेटा जित्ने अवसर पाएको जारी विज्ञप्तिमा छ । कम्पनीका अनुसार विजेताको नाम डब्लूडब्लूडब्लू डट फेसबुक डट कम/हुन्डाई नेपालमा हेर्न सकिनेछ ।

अर्थ वाणिज्य

फोर्डद्वारा विशेष कार्यक्रम

छोटकरी
- कान्तिपुर संवाददाता

 काठमाडौं– फोर्डले अन्तर्राष्ट्रिय नारी दिवसमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत कम्पनीले महिला उपभोक्ता, टेस्ट ड्राइभ र आफ्नो सवारी साधनलाई मूल्यांकन गराएमा विशेष उपहारसमेत पाउनेछन् । कम्पनीले अन्तर्राष्ट्रिय नारी सप्ताहप्रति हरेक वर्ष ऐक्यबद्धता जनाउँदै आएको जनाएको छ । फोर्डले ललितपुरको जाउलाखेलको फुटबल मैदानमा मार्च ४ मा फन्ड रन डेको आयोजना गर्दै छ ।

अर्थ वाणिज्य

लक्ष्मी बैंकको ‘अनफिक्स्ड’ खाता

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं– लक्ष्मी बैंकले ‘अनफिक्स्ड डिपोजिट’ नामक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ । ग्राहकहरूलाई मुद्दती खाताका साथसाथै बचत खाताको पनि लाभहरू अर्थात तरलता र उच्च ब्याजदर दुवै प्रदान गराउने उद्देश्यले यो खाता ग्राहकहरूमाझ ल्याइएको बैंकले जनाएको छ । यो खाताले ग्राहकहरूको जम्मा रकमलाई अटोमेटिक ट्रान्सफरमार्फत पठाई २ वर्षको नयाँ मुद्दती खाता खोली बैंक धाइरहनुपर्ने वा आवेदन फारम भर्ने झन्झटबिना नै उच्च ब्याजदर प्राप्त गर्न मद्दत गर्ने दाबी बैंकको छ ।

अर्थ वाणिज्य

रसिलो क्यान्डीको नयाँ अभियान

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं– सुजल फुड्सले आफ्नो उत्पादन रसिलो क्यान्डीको नयाँ अभियान ‘चटपटा स्वादिलो, पचाउँछ सजिलो’ सुरु गरेको छ । रसिलो क्यान्डी मोइस्चर प्रुफ मेटालिक प्याकेजिङ र आकर्षक फिनिसिङमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो क्यान्डी नेपालभर एक रुपैयाँमा उपलब्ध हुनेछ ।

अर्थ वाणिज्य

जिओनीको विशेष सेवा केन्द्र

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं– जिओनी ब्रान्डले उपत्यका बाहिरका ५ स्थानमा विशेष प्रकारको सेवा केन्द्र खोलेर मर्मत सेवा दिन थालेको छ । केन्द्र खोलिएका सहरहरूमा पोखरा, नारायणघाट, नोपालगन्ज, इटहरी र वीरगन्ज रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘जिओनी–केयर’ नाम दिइएका यी सेवा केन्द्रहरूमा दक्ष प्राविधिकहरूद्वारा गुणस्तरीय सेवा उपलब्ध गराइनेछ ।

अर्थ वाणिज्य

सेन्सेईको घरदैलो कार्यक्रम

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं– जापानी टेक्नोलोजीबाट निर्मित सेन्सेई ब्रान्डका एलटीभीको बजार प्रवद्र्धन तथा उपभोक्तामाझ जानकारी गराउन घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ । कम्पनीका अनुसार काठमाडौं, भक्तपुर, लालितपुर, बनेपा, धादिङ तथा नुवाकोट बजार तथा उपभोक्ता लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा उपभोक्ताले प्रत्यक्ष रूपमा सामग्रीहरू अवलोकन गर्न पाउनुका साथै छुटमा खरिद पनि गर्न पाउने जारी विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

मेगा र रेमिट टुबीच सम्झौता

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं– मेगा बैंक नेपाल र रेमिट टु नेपाल प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । मेगाका तर्फबाट सहायक उपसीईओ रविना देशराज श्रेष्ठ र रेमिटका सीइओ श्रीचन्द्र भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेको जारी विज्ञप्तिमा छ । सम्झौतापछि रेमिट टुमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका शाखाहरूबाट भुक्तानी पाउने जनाइएको छ ।

अर्थ वाणिज्य

सेन्चुरीले सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं– सेन्चुरी कमर्सियल बैंक लिमिटेडले सगरमाथा फाइनान्सलाई प्राप्ति गर्न एमओयूमा हस्ताक्षर गरेको छ । सगरमाथाको हकप्रद तथा अघिल्लो आवको मुनाफासमेतबाट ७८ करोड पुँजी रहने जारी विज्ञप्तिमा छ । हाल सगरमाथाको १४ वटा (११ वटा सञ्चालनमा रहेको र ३ वटा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त) शाखा कार्यालयहरू रहेको जनाएको छ । सेञ्चुरीले यसअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न सैद्धान्तिक सहमति प्राप्त गरिसकेको छ ।

Page 17
अर्थ वाणिज्य

दलले भाग लगाए पाँच करोडको योजना

ठूलालाई १० र सानालाई ८ लाखको भाग
- नगेन्द्र अधिकारी

काभ्रे– राजनीतिक दलहरूले सहमतिको नाममा पाँच करोडको योजना भागबन्डा गरेका छन् । उनीहरूले जिविसको आन्तरिक कोषअन्तर्गत र स्थानीय विकास मन्त्रालयबाट प्राप्त रकम भागबन्डा गरेका हुन् ।
मन्त्रालयबाट जिविसलाई प्राप्त थप अनुदान गरी २ करोड ६६ लाख र मन्त्रालयको केन्द्रीय परियोजना कार्यान्वयन इकाईमार्फत भूकम्प आवासीय पुनर्निर्माण कार्यक्रमको २ करोड ६० लाख ‘सहमति’ को नाममा भागबन्डा गरेका हुन् । जिविसमा १७ दलले प्रतिनिधित्व गर्दै आएका छन् । सर्वदलीय संयन्त्रको नाममा जिविसको निर्णयमा प्रभाव पार्ने हैसियत भने दलहरूको छैन । उनीहरूले ठूला दलले १० लाख र सानाले ८ लाखको दरले भाग लगाएका हुन् । बजेट आफू अनुकूलका योजनामा विनियोजन गरेका थिए । भाग नपुगेको भन्दै नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र संघीय समाजवादी फोरम नेपाल बैठकबाट बाहिरिएका थिए ।
दलहरूले योजनाहरू प्राथमिकता र आवश्यकताभन्दा पनि पहुँचका आधारमा छनोट गरेको जिविसकै प्राविधिकले बताएका छन् । फोरम (लोकतान्त्रिक) का प्रतिनिधि प्रवीण धितालले आफ्नो कुलदेवताको भवन धिताल सेवा समाजका लागि ५ लाख छुट्याएका छन् । धितालले गुम्बा, मन्दिर, खेलकुद मैदान आदिमा बजेट छुट्याउने गरेकाले आफूले पनि भवनका लागि प्रस्ताव गरेको बताए ।

नेकपा (माओवादी केन्द्र) ले इन्द्रबहादुर थिङले थोरै बजेटमा धेरै योजना माग भएकाले दलहरूलाई सोही रकम बराबरको योजना ल्याउन भनिएको स्विकारे । ‘थोरै बजेटमा धेरैले आ–आफ्ना योजना ल्याएकाले समस्या भयो,’ उनले भने, ‘सहमतिका लागि १० र ८ लाख बराबरको योजना ल्याउन भनिएको हो ।’ अन्य दलहरू भने भागबन्डा भएको स्विकार्न तयार छैनन् । नेपाली कांग्रेसका प्रतिनिधि अच्युतप्रसाद पौडेलले भागबन्डा नभई ‘सहमति’ मा योजना बाँडफाँट गरेको तर्क गरे । एमालेका अशोक व्याञ्जुले जिल्ला परिषदमा समावेश हुन नसकेका योजनामा ‘सहमति’ मा नै बजेट विनियोजन गरिएको बताए ।

जिविस योजना अनुगमन तथा प्रशासकीय अधिकृत धोलकराज ढकालले सहमतिका आधारमा बाँडिएको दाबी गरे । ‘भागबन्डाका आधारमा भन्दा पनि सबैको सहमतिमा बाँडिएको हो,’ ढकालले भने, ‘सबै क्षेत्र पर्ने गरी योजना पारेका छौं ।’ जिविस भवन निर्माणका लागि ६० लाख विनियोजन गरिएको छ । मन्त्रालयको परियोजनाका लागि पनि भवनकै लागि ५५ लाख रकम स्वीकृत भइसकेको छ । स्थानीय निकायको पुन:संरचनापछि जिविस इकाई नै नरहने भए पनि भवनको लागि ठूलो रकम छुट्टिएको हो, स्रोतको दाबी छ ।

 पुनर्निर्माण कार्यक्रमको रकम जिविस समितिमार्फत दलहरूलाई भागबन्डा गरिएको छ । ग्रामीण खानेपानी, भग्नावशेष व्यवस्थापन, सिँचाइ, मूल व्यवस्थापन, भवन निर्माण शीर्षकमा आएको बजेट दलहरूले सहमति भन्दै भागबन्डा गरेका हुन् । आयोजना कार्यान्वयन इकाईका प्रमुखसमेत रहेका जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर लोकनाथ रेग्मीले भागबन्डा भएको अस्वीकार गर्दै आवश्यक योजना नै सिफारिस भएको दाबी गरे । ‘जिविसबाटै सिफारिस भएका योजना केन्द्रमा पठाएका हौं,’ उनले भने, ‘आवश्यकता धेरै र बजेट कम भएकाले त्यस्तो देखिएको हुन सक्छ ।’

अर्थ वाणिज्य

शिक्षामा ईयूको ७० करोड थप सहयोग

- कान्तिपुर संवाददाता

काठमाडौं– युरोपेली संघ (ईयू) ले नेपाललाई शिक्षा क्षेत्रमा दिँदै आएको सहयोग थप गरेको छ । ईयूले करिब ७० करोड रुपैयाँ (६० लाख युरो) थप गरेको हो ।

बिहीबार विज्ञप्ति जारी गरी ईयूले सहयोग थप गरेको जानकारी दिएको छ । विज्ञप्तिमा यही फागुन २ गते ईयूका राजदूत रेन्चे टेरिङले अर्थ सचिव शान्तराज सुवेदीलाई पत्राचार गरी सहयोग थप गरेको जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ । यो रकम ईयूले शिक्षा क्षेत्रमा नेपाललाई उपलब्ध गराउने करिब ३ अर्ब ७० करोड अन्तिम किस्ता हो ।

अर्थ वाणिज्य

टेलिकमको आय लक्ष्यभन्दा कम

- कान्तिपुर संवाददाता

काठमाडौं– नेपाल टेलिकमले चालु वर्षका लागि राखेको आम्दानीको लक्ष्य पूरा नहुने देखिएको छ । टेलिकमको अर्धवार्षिक बजेट समीक्षा प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि राखेको लक्ष्य पूरा नहुने देखिएको हो ।

टेलिकमले आन्तरिक छलफलका लागि तयार पारेको अर्धवार्षिक बजेट समीक्षामा कुल आम्दानी लक्ष्यको ४६ प्रतिशत मात्र हासिल भएको देखिएको छ । ६ महिनामा टेलिकमले ५० प्रतिशत लक्ष्य हासिल गर्नुपर्नेमा कम देखिएको हो । सञ्चालन र अन्य आय गरी चालु वर्षको ६ महिनामा टेलिकमले लक्ष्यभन्दा १ अर्ब ८ करोड २५ लाख रुपैयाँ कम आय गरेको प्रतिवेदनमा उल्लेख छ ।

टेलिकमको अन्य आय लक्ष्यभन्दा बढी भएको देखिए पनि सञ्चालन आय भने घटेको छ । सञ्चालन आयअन्तर्गत ल्यान्डलाइन, जीएसएम र सीडीएमए मोबाइल, एडीएसल, फाइबर टु द होम (एफटीटीएच), वाइम्याक्सलगायतका इन्टरेनेट सेवा, अन्तर्राष्ट्रिय कल र टेलिफोन तथा अन्य सामग्री बिक्रीको आम्दानी पर्छ । अन्य आयमा भने कम्पनीले बैंकमा राखेको रकमको ब्याजलगायत पर्छ । चालु आर्थिक वर्षको ६ महिनामा टेलिकमको सञ्चालन आय लक्ष्यभन्दा १ अर्ब ६० करोड १५ लाखले कम देखिएको छ । टेलिकमले चालु वर्षमा ४४ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ सञ्चालन आयको लक्ष्य राखेको छ । लक्ष्यअनुसार ६ महिनाभित्र २२ अर्ब २४ करोड २७ लाख आम्दानी गर्नुपर्नेमा कुल २० अर्ब ६४ करोड १२ लाख मात्र आम्दानी गरेको छ ।

अन्तर्राष्ट्रिय कल र रोमिङबापतको आम्दानी लक्ष्यअनुसार हुन नसक्दा सञ्चालन आयमा कमी आएको हो । टेलिकमले गत आर्थिक वर्षमा अन्तर्राष्ट्रिय कल र रोमिङबापत कुल ११ अर्ब ६० करोड आम्दानी गरेको थियो । त्यसलाई बढाएर यसपालि १३ अर्ब ५२ करोड ६४ लाखको लक्ष्य राखिएको छ । लक्ष्य पूरा गर्न पहिलो ६ महिनामा ६ अर्ब ७६ करोड ३२ लाख आम्दानी गर्नुपर्नेमा टेलिकमले जम्मा ४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । यो लक्ष्यभन्दा १ अर्ब ८१ करोड ९२ लाखले कम हो ।

यसैगरी टेलिकमले ल्यान्डलाइन, एडीएसएल, वाइम्याक्सलगायतका सेवाबाट पनि लक्ष्यअनुसार आम्दानी गर्न सकेको छैन । मोबाइल सेवाको आम्दानी भने लक्ष्यअनुसार नै भएको टेलिकमको अर्धवार्षिक बजेट समीक्षामा उल्लेख छ । पोस्टपेड मोबाइलतर्फ लक्ष्यको ५९ प्रतिशत र प्रिपेडतर्फ लक्ष्यको ५२ प्रतिशत आम्दानी भएको देखिन्छ । सीडीएमएमा भने लक्ष्यको ४० प्रतिशत, एडीएसएलमा ४८ प्रतिशत, एफटीटीएचमा २८ प्रतिशत र वाइम्याक्समा ३३ प्रतिशत मात्र आम्दानी भएको देखिन्छ ।

टेलिकमको सञ्चालनबाहेकको आम्दानी भने बढेको देखिएको छ । यस्तो आम्दानी लक्ष्यभन्दा बढी भएको देखिन्छ । ६ महिनामा यो आम्दानी लक्ष्यको ५९ प्रतिशत भएको देखिएको हो । टेलिकमले कुल २ अर्ब ६२ करोड २५ लाख यस्तो आम्दानी गर्ने लक्ष्य राखेकामा ६ महिनामा १ अर्ब ८३ करोड २ लाख आम्दानी गरेको छ । बैंकहरूले बचतको ब्याजदर वृद्धि गर्नु, गत वर्ष स्वैच्छिक अवकाशका लागि दिइएको खर्च यसपटक व्यहोर्न नपरेको तथा लोडसेडिङ हटेकाले डिजेल खर्च कम हुँदा यस्तो आम्दानी बढेको हो ।

नेपाल टेलिकमले गत आर्थिक वर्षमा कुल ४४ अर्ब २० करोड आम्दानी गरेको थियो । यसपटक आम्दानीको लक्ष्यलाई बढाएर ४७ अर्ब १० करोड पुर्‍याएको हो । टेलिकमले समीक्षा प्रतिवेदनमा ६ महिनामा कुल १७ लाख ६१ हजार ९ सय ६७ ग्राहक थपिएको उल्लेख गरेको छ । यो लक्ष्यको ६७ प्रतिशत हो । टेलिकमले चालु वर्षमा कुल २६ लाख १५ हजार ४ सय ६९ ग्राहक थप्ने लक्ष्य राखेको छ ।

  • सञ्चालन आय लक्ष्यभन्दा थोरै
  • अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानीमा गिरावट
अर्थ वाणिज्य

काम गर्नुअघि पेस्की दिन बन्द

- ठाकुरसिंह थारु

बाँके– रकम लिएर योजना पूरा नगर्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला विकास समिति बाँकेले काम गर्नु अगावै दिने पेस्कीमा रोक लगाएको छ । यसअघि विकास योजनाका लागि भन्दै उपभोक्ता समितिले काम अगावै १० देखि ५० प्रतिशत रकम पेस्की लिने गरेका थिए । तर, ठेकेदार कम्पनीहरूको हकमा भने परिचालन खर्च दिने गरिएको छ । पेस्की रकमको दुरुपयोग बढेपछि जिविसले यस वर्षदेखि कडाइ गरेको हो ।

पेस्की रकम लिइसकेका कतिपय योजनाहरू अझै पनि अलपत्र छन् । विकास योजनाको काम सुरु गर्नुअघि विभिन्न उपभोक्ता समितिले बुझेको करिब ६ करोड रुपैयाँ अझै फस्र्योट हुन बाँकी छ । १३ करोड ७२ लाख पेस्की रकम भने फस्र्योट भएको जिविसले जनाएको छ । ‘पेस्की रकम लिने र त्यो रकम दुरुपयोग बढेपछि नियन्त्रण गर्न कडा नीति बनाएका हौं । काम गरेको अनुपातमा मात्रै रकम उपब्ध गराउन थालिएको छ,’ बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले भने, ‘काम सुरु नगर्दै उपभोक्ता समितिलाई पेस्की रकम दिँदैनौं । तर, काम गरेको भोलिपल्टै सबै रकम भुक्तानी दिइरहेका छौं ।’

जिल्ला विकास समितिले ठूला र साना गरी करिब तीन सय योजनाहरू तय गरेको छ । २६ ठूला योजनाका लागि टेन्डर गरी सम्झौता गरिसकेको छ । साना तथा फुुटकर योजनाहरूको काम अगाडि बढेका छन् । सांसद विकास कोषका साना योजनाहरूमा कडाइ गर्न पेस्की रकममा कडाइ गरिएको हो । बाँकेमा सबैभन्दा बढी सांसद विकास कोषको रकमबाट सञ्चालन गरिएका योजनामा दुरुपयोग हुने गरेको पाइएको छ ।
कोषको रकम सडक ग्राभेल, बाटो मर्मत, सिलाइकटाइ, विभिन्न तालिमहरूमा खर्च गरिँदै आएको छ । उक्त कोषको रकम सांसदले आफ्नो अनुकूल खर्च गर्न पाउने कानुनी व्यवस्था छ । तर, निर्वाचन पूर्वाधार विकासको रकम भने ठेकेदारमार्फत हुँदै आएका छन् । जिविसले नरैनापुर, सीतापुर, कम्दी गाविसको भवन निर्माण, सडक कालोपत्रे, सडक मर्मत, पक्की पुल निर्माणलगायतका ठूला योजनाहरूका काम अगाडि सारेको छ ।

Page 18
अर्थ वाणिज्य

पर्यटक अलपत्र

- कान्तिपुर संवाददाता

म्याग्दी– आन्दोलनकारीले सडक अवरुद्ध पारेपछि मुस्ताङ भ्रमणमा आएका र फर्केका आन्तरिक बाह्य पर्यटकसहित हजारौं सर्वसाधारण अलपत्र परेका छन । प्रस्तावित राहुघाट गाउँपालिका केन्द्र प्राप्त संघर्ष समितिले बिहानै आफ्नो क्षेत्रमा पर्ने बेनी–जोमसोम सडकको गलेश्वर–बेगखोला खण्डमा सडक अवरुद्ध गरेका हुन् ।

अर्थ वाणिज्य

केही दूतावासमा राहदानी बनाउन उपस्थित हुनुपर्ने

- चन्द्रशेखर अधिकारी

काठमाडौं– नेपालमा राहदानी बनाउँदा सम्बन्धित व्यक्ति अनिवार्य उपस्थित हुनुपर्ने भए पनि विदेशमा राहदानीका लागि आवेदन दिँदा उपस्थित हुनु नपर्ने व्यवस्था केही दूतावासले परिवर्तन गरेका छन् । आफैं उपस्थित हुनुपर्ने व्यवस्थाले राहदानी गैरनेपालीकोमा पुगेको हुन सक्ने भन्दै यसमा कतिपय दूतावासले अनिवार्य उपस्थिति लागू गरेका छन् । राहदानी ऐन तथा नियमावलीमा राहदानी सम्बन्धित व्यक्तिलाई नै बुझाउनुपर्ने उल्लेख छ । गैरनेपालीको हातमा समेत पासपोर्ट पुग्न सक्ने भएकाले कतिपय दूतावासले अनिवार्य उपस्थितिको नियम लगाएका हुन् । विदेश पुग्नेले पहिले नै सरकारबाट राहदानी लिइसकेको हुनाले त्यसकै आधारमा दूतावासहरूले राहदानी दिने गर्छन् । यसैले यसमा अनिवार्य उपस्थितिको व्यवस्था गरिएको थिएन ।

कागजपत्र र पुरानो राहदानीको फोटोकपीको आधारमै दूतावासले उनीहरूको राहदानीको आवेदन बुझ्ने र नेपाल पठाउने गरेको छ । त्यसकै आधारमा विभागले राहदानी बनाएर डिपमेल (कूटनीतिक कुरिअर) मार्फत सम्बन्धित मुलुक पठाउने गर्छ । यसरी बनाइने राहदानीको आवेदन सही व्यक्तिले दिएको हो कि होइन भन्ने नखुल्ने भएकाले उपस्थिति अनिवार्य गरिएको अमेरिकास्थित नेपाली दूतावासका एक अधिकारीले बताए । अन्य खाडी मुलुकले समेत अनिवार्य उपस्थित वा कामदार रहेकै स्थानमा पुगेर आवेदन लिने गरेका छन् । ‘अन्यत्र के छ थाहा छैन, हामीले अनिवार्य उपस्थित नभई राहदानी बनाउने गरेको छैनांै,’ अमेरिकी दूतावासका ती अधिकारीले भने, ‘किन हामी फस्ने ? टाढा रहेको नेपालीको हकमा अवैतानिक महावाणिज्य तथा वाणिज्यदूतमार्फत मगाउनेसम्म गरेका छौं ।’ कतिले त नागरिकता नै नक्कली बनाउने र विदेशबाट आएको नागरिकताको यहाँ प्रमाणीकरण पनि नगर्ने हुनाले ध्यान दिन आवश्यक भएको उनले बताए ।

नेपाली जस्ता देखिने केही विदेशीले त पुरानो राहदानी लिएर आउने तर आफू जन्मेको जिल्लासमेत भन्न नसक्ने हुनाले पनि आशंका गर्दै दूतावासले छानबिन गर्दै फिर्ता पठाएको अनुभवसमेत उनले सुनाए । ‘हामीले विदेशबाट आएकाको नागरिकता छानबिन गर्ने र बुझ्ने गरेका छौं ।
कतिपय जिल्लामा कुनै नागरिकताको विवरण नहुँदा पनि व्यक्ति बुझेर बनाउने गरेको र पुरानो पासपोर्टको आधार पनि हेर्ने गरेकाले गलत व्यक्तिले बनाउन सक्दैनन्,’ विभागका महानिर्देशक सुशील लम्सालले कान्तिपुरसँग भने, ‘तर हराएको भनेर आउनेको हकमा भने हामी पनि थप सचेत छौं ।’ उनले यसलाई गम्भीर विषय भन्दै कतिपय मुलुकमा दूतावास तथा महावाणिज्य दूतावास पुग्न असाध्यै समय लाग्ने गरेकाले यस्तो सुविधा दिइएको बताए । उनले बायोम्याट्रिक्समा गएपछि यो समस्या समाधान हुने पनि बताए । ‘त्यसपछि सम्बन्धित व्यक्ति अनिवार्य उपस्थित हुनैपर्छ, उसको शारीरिक विवरणसमेत त्यसमा हुने हँुदा दुरुपयोग त्यति सहज हुने छैन ।’

अर्थ वाणिज्य

व्यावसायिक तरकारी खेती फैलँदै

- कान्तिपुर संवाददाता

भोजपुर– जिल्लाका गाउँ–गाउँमा व्यावसायिक तरकारी खेती विस्तार भइरहेको छ । सदरमुकामबाट २ किमि दक्षिणी क्षेत्रको टक्सार तरकारी खेतीको पकेट क्षेत्रका रूपमा विस्तार हुन थालेको छ । ३४ वर्षका युवा बमबहादुर श्रेष्ठले ३ वर्षयता मकै, कोदो, तोरी फल्ने बारी मासेर तरकारी खेती थालेका छन् । साढे ५ रोपनी जग्गामा तरकारी बाली, फलफूल बाली लगायतका छन् । २ वटा माछापोखरी छ । कृषि कार्यालयको युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ४० हजार अनुदानबाट करोडौंको आम्दानी दिने कृषि कर्म फैलाएका छन् ।
घुमफिरका क्रममा ०६९ ताका उनी दुबई पुगेका थिए । नेपाली युवाले विदेशमा पसिना बगाएको देखेपछि स्वदेशमै पनि मिहिनेत गर्न सके सुन फलाउन सकिने उद्देश्यले यता लागेको बताए ।

‘युवाहरू बेरोजगार भइयो भन्दै खाडी पलायन हुन्छन्, आखिर त्यो परिश्रम आफ्नै देशका लागि समर्पित गर्न सकियो भने स्वदेशमै फालाफाल रोजगारी छ,’ सोचाइमा एकाएक परिवर्तन आएको उनले बताए । उनी विदेशिने युवाहरूका लागि नमुनाको पात्र बनेका छन् ।
कृषिमा आत्मनिर्भर बन्ने र विषादीरहित उपज उत्पादन गर्ने उनको मुख्य लक्ष्य बताए । बस्तुभाउको मलमूत्र संकलन गरेर तरकारी बारीमा प्रयोग गर्छन् ।

अर्थ वाणिज्य

पाल्पा महोत्सवमा ६ करोडको कारोबार

- कान्तिपुर संवाददाता
पाल्पाको तानसेनमा आठ दिनदेखि जारी पाल्पा महोत्सव स्थल । ४ सय ६३ स्टल, बाल उद्यान, फोटो प्रदर्शनीका कारण एक लाख बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् भने ६ करोड बढी व्यापार भएको आयोजक पाल्पा उद्योग वाणिज्य संघले जनाएको छ । तस्विर : माधव अर्याल/कान्तिपुर

पाल्पा– सदरमुकाम तानसेनमा आठ दिनदेखि जारी पाल्पा महोत्सवमा बिहीबारसम्म ६ करोड हाराहारीको कारोबार भएको छ । आयोजक उद्योग वाणिज्य संघका अनुसार व्यावसायिक स्टल, होटल व्यवसाय, बाल उद्यान र फुटकर व्यापारबाट उक्त रकम बराबरको कारोबार भएको हो ।
महोत्सवमा ढाका, कारागारमा बनाइएका मुडा, च्याउ, सुन्तला, ढाकर, घरायसी सामग्रीको राम्रो व्यापार भएको आयोजकले जनाएका छन् । खाद्यान्न र लत्ताकपडाको किनबेचको अवस्था पनि उत्साहजनक छ । संघ अध्यक्ष मोहनप्रसाद श्रेष्ठले अपेक्षाअनुसार दर्शकको उपस्थिति रहेको बताए । ‘दैनिक दर्शकको उपस्थिति र महोत्सवमा कारोबार पनि सोचेअनुसार नै भएको छ,’ उनले भने । स्टल अवलोकनका साथै सांस्कृतिक कार्यक्रमले गर्दा बाँकी दिनमा अहिलेको तुलनामा थप बढ्ने आशा उवासंघले लिएको छ । तानसेनको पर्यटन प्रवद्र्धनका साथै संघको बहुउद्देश्यीय भवन निर्माणका लागि आयोजित महोत्सवमा ८ करोडको कारोबार र २ लाख ५० हजार दर्शकको उपस्थिति रहने अपेक्षा संघको रहेको महासचिव यादवसिंह कार्कीले बताए ।

कृषि, कुटीर उद्योग, ढाका, अदुवा, पर्यटन, जानकारीमूलक, सूचना प्रविधि, व्यापारका लागि दैनिक कम्तीमा १५ हजार दर्शक महोत्सवमा प्रवेश गरेका छन् । महोत्सवको मुख्य आकर्षणका रूपमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको सालिक रहेको छ ।
फोटो प्रदर्शनी, गोरुले उखु पेलेको, राउटेद्वारा निर्मित सामग्रीको प्रदर्शनीले दर्शकको मन लोभ्याएको प्रचार संयोजक शैलेन्द्र भट्टराईले बताए ।
महोत्सवले जिल्लाको आर्थिक, सामाजिक विकासमा टेवाका साथै कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धनमा सहयोग पुर्‍याउने उनले बताए । नेपाली मौलिक शैलीको घर, रानीमहलको स्वरूप, बाल उद्यान पनि महोत्सवका आकर्षण हुन् ।

Page 19
खेलकुद

आर्मी फाइनलमा

- अमृता अनमोल


तिलोत्तमा गोल्डकप फुटबलमा बिहीबार आर्मी (हरियो) र रूपन्देहीका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिर : अमृता/कान्तिपुर

बुटवल– विभागीय टिम त्रिभुवन आर्मी क्लब १९ औं तिलोत्तमा गोल्डकप फुटबलको फाइनल पुगेको छ । बिहीबार आर्मीले टाइब्रेकरमा रूपन्देही ११ लाई ४–२ ले पराजित गरेको थियो । दुईपल्टको पूर्व विजेता आर्मीले रूपन्देहीसँग गत वर्षको बदला लिएको छ । उपाधिका लागि आर्मीले शनिबार संकटासँग प्रतिस्पर्धा गर्नेछ ।

घरेलु मैदान र दर्शकको साथ पाएको रूपन्देही प्रतिस्पर्धात्मक खेल पस्केको थियो । डिफेन्डिङ च्याम्पियन रूपन्देही पेनाल्टी सुटआउटमा चुक्दा दर्शक
स्तब्ध बने । गत वर्ष फाइनलमा आर्मीलाई ३–१ ले हराउँदै रूपन्देहीले उपाधिमा जितेको थियो ।

बिहीबार निर्धारित र अतिरिक्त समय गोलरहित बनेको थियो । टाइब्रेकरमा आर्मीका लागि हिरण्य मगर, राजु तामाङ, विवेक बस्नेत र दीप लामाले गोल गरे । रूपन्देहीका तर्फबाट सौरभ मगर र उत्तम गुरूङमात्र गोल गर्न सफल भए । यद्यपि यसै स्पर्धाका लागि भित्र्याइएका विदेशी खेलाडी श्याम सोन र यम गुफ्लाको प्रहार असफल भयो । दुवैका प्रहार बाहिरिए ।

घरेलु टिमको प्रतिस्पर्धा हेर्न अन्य दिनको तुलनामा दर्शक उपस्थिति बाक्लो थियो । रूपन्देहीको तुलनामा शारीरिक रूपमा फिट आर्मीले सुरुदेखि नै पोस्ट आक्रामण गरेको थियो । तर रूपन्देहीका खेलाडीले त्यसको डटेर सामना गरे । रूपन्देहीका गोलरक्षक दिलीप क्षेत्री व्यस्त भए । उनले आर्मी खेलाडीका थुप्रै प्रहार विफल पारे । आर्मीका विवेक बस्नेतले सुरुकै आठौं र दसौं मिनेटमा गरेका दुई राम्रा प्रहारलाई दिलीपले गोल हुन दिएनन् । पहिलो हाफमै आर्मीका सन्तोष तामाङ र राजीव गुरूङका प्रयासहरू पनि घरेलु टिमका खेलाडीले असफल पारे । रूपन्देहीको तर्फबाट भएका झन्डै पाँचवटा अवसर खेर गए । श्याम सोनले गरेका गतिला प्रहार आर्मीका गोलकिपर सुशील श्रीवास्तवले कठीनसँग जोगाए ।
निर्धारित र अतिरिक्त २० मिनेटमा गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको हो । खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर सुशील श्रीवास्तव घोषित भए ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टिम समन्वय र तयारी राम्रो भएकाले जित हासिल गरेको बताए । उनले फाइनलका लागि आफ्नो टिम तयार
रहेको बताए । रूपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले खेलाडी परिवर्तन गर्दा हार बेहोर्नुपरेको बताए । आयोजक रूपन्देहीले तिलोत्तमा गोल्डकप पाँचपल्ट जितेको छ । टिमले २०३३, २०३९, २०४०, २०४१ र २०७२ सालमा जितेको हो । आर्मीले यसअघि दुईपल्ट यस गोल्डकप जितेको इतिहास छ । २०५४ सालमा १२ औं र २०६५ मा १६ औं संस्करण जितेको थियो । शनिबार हुने प्रतियोगिता विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३ लाख ५५ हजार ५ सय ५५ पाउने रुपैयाँ पुरस्कार पाउने छन् । विधागत उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ पाउँछन् ।

खेलकुद

इनरिकेले बार्सिलोना छाड्ने

- एएफपी

म्याड्रिड– गारेथ बेलले रातो कार्ड बेहोरेको खेलमा रियल म्याड्रिडले घरेलु मैदानमा बुधबार लस पाल्माससँग ३–३ को बराबरी गरेपछि स्पेनिस ला लिगाको शीर्ष स्थानमा बार्सिलोना यथावत् रहेको छ । प्रशिक्षक लुइस इनरिकेले सिजन समाप्तिसँगै बार्सिलोनामा नरहने पनि निश्चित गरेका छन् ।
बार्सिलोनाले स्पोर्टिङ गिजोनलाई ६–१ ले पराजित गरेपछि इनरिकेको निर्णय बाहिर आएको हो । एक खेल बढी खेलेको बार्सिलोना एक अंकको अग्रता लिँदै लिगको शीर्षमा छ । बेलले म्याड्रिडको जर्सीमा पहिलोपल्ट रातो कार्ड बेहोर्नु युरोपेली च्याम्पियनका लागि महँगो बन्यो । खेल सकिन तीन मिनेटअघिसम्म लस पाल्मास ३–१ ले अगाडि थियो । क्रिस्टियानो रोनाल्डोले अन्त्यमा दुई गोल गरेपछि रियलले अंक जोडेको हो । म्याड्रिडलाई उछिन्नु इनरिकेका लागि तेस्रो सिजन पनि उपाधि दिलाउने हात बार्सिलोनामा पुग्नु हो । रियल र बार्सिलोना अप्रिलमा भिड्ने छन् ।
‘म अर्को सिजन बार्सिलोनाको प्रशिक्षक हुने छैन,’ इनरिकेले भने, ‘यो कठिन छ र गम्भीर रुपमा सोचेरै यो निर्णय लिइएको हो । जे सोच्ने गर्छु त्यसप्रति म बफादार हुनेछ ।’ बार्सिलोनाको जितमा लियोनल मेसी, लुइस स्वारेज र नेयमरले गोल गरे ।

रियललाई पनि आठौं मिनेटमै इस्कोले अग्रता दिलाउँदा बेर्नाबेउमा सजिलै देखिएको थियो । तर, सर्जियो रामोसलाई घुमाउँदै पाल्मसका तानाले गोल गरेर खेल बराबरीमा ल्याए । बेलले जोनाथन भिएरासँग धैर्य गुमाउँदा मैदान छाड्नुपरेको थियो । रामोसले हातले बल छोएपछि प्राप्त पेनाल्टीमा भिएराले गोल गरे । त्यसपछि गोलकिपर केयलर नाभासले गम्भीर भूल गर्दै केभिन–प्रिन्स बोएटेङको गोल निम्त्याएका थिए । धेरै कमजोरीबीच पनि रोनाल्डोले अन्त्यतिर पेनाल्टी र कर्नरमा हेडर गोल गर्दै रियलको हार टारेका थिए । उता मेसीले सिजनको ३६ औं गोल गरेसँगै बार्सिलोनाले खाता खोलेको थियो । गिजोनका जुआन रोडरिग्वेजले आत्मघाती गोल गरेका थिए । कार्लोस क्यास्ट्रोले गोल गर्दै बार्साको अग्रता छोट्याएका थिए । तर स्वारेज, फ्रान्सिस्को अल्कासेर, नेयमर र इभान राकिटिचले क्याटलन टिमलाई ६–१ को जित दिलाए ।

खेलकुद

सिटी एफए कपको क्वाटरफाइनलमा

- एएफपी

लन्डन– सर्जियो अगुइरोले घरेलु प्रतियोगिताको गोलविहीन यात्रा ६ खेलमा टुंग्याउँदै दुई गोल गरेपछि म्यानचेस्टर सिटी दोस्रो डिभिजनको हडर्सफिल्डमाथि ५–१ को जित निकाल्दै एफए कपको क्वाटरफाइनल पुगेको छ ।

पेप ग्वार्डिओलाको टिमका लागि लेरोय सेन, पाब्लो जाबालेटा र केलेची इहेनाचोले पनि गोल गरे । उसले अन्तिम आठमा प्रिमियर लिग टिम मिडल्सब्रोको सामना गर्नेछ । सिटीसँग ह्यारी बुनको गोलसँगै सुरुआती अग्रता भने हडर्सफिल्डले लिएको थियो ।इटालीरोम– सेर्गे मिलिन्किोभिक–साभिक र सिरो इमोबिलको गोलसँगै लाजियोले इटालियन कप सेमिफाइनलको पहिलो लेगमा चिरपरिचित प्रतिद्वन्द्वी रोमामाथि २–० को अग्रता लिएको छ । यसले लाजियोलाई फाइनल नजिक पुर्‍याएको छ ।

खेलकुद

‘फ्रेन्ड्सको खाता खुला’

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं– फ्रेन्ड्स क्लबले आफ्नो बैंक खाता खोलिएको जनाएको छ । यसअघि कार्यसमितिले सञ्चालन गरिरहेको बैंक खाता रोकेर संरक्षक परिषद्ले अधिकार लिएको थियो । फेरि फ्रेन्ड्सका अध्यक्ष चुनिएका राजीवराज पौड्यालका अनुसार नयाँ कार्यसमितिले पदभार सम्हालेपछि बैंक खाता सञ्चालन गर्ने अधिकार कार्यसमितिमै फर्किएको छ । ‘कोषाध्यक्षको अनिवार्य तथा अध्यक्ष वा सचिवको हस्ताक्षरमा खाता सुरु हुनेछ,’ उनले भने ।

खेलकुद

रनिङ सिल्ड सुरु

छोटकरी
- कान्तिपुर संवाददाता

सल्यान– थारमारेस्थित जनकल्याण माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ सिल्ड खेलकुद सुरु भएको छ । तीनदिने प्रतियोगितामा क्षेत्र नम्बर १ का २६ विद्यालयका तीन सय बढी खेलाडीले सहभागिता जनाएका छन् ।

खेलकुद

ककनीमा दौड स्पर्धा

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं– अहिले चर्चित बनेकी मीरा राईको पहिलो दौड थियो हिमालयन आउटडोर फेस्टिवल । त्यसबाट सुरु उनको सफलताको यात्रा वल्र्ड सिरिजसम्म पुगेको छ । हिमालयन आउटडोर फेस्टिवलको छैटौं संस्करण चैत ५ देखि ७ सम्म ककनीमा हुने भएको छ । त्यसमा ३० किमि, १२ किमि, ५ किमि खुला दौडमा प्रतिस्पर्धा हुनेछ । बालबालिकाका लागि १ किमि र रातमा उकाली दौड पनि थपिने हिमालयन आउटडोरका अध्यक्ष दिपेश घलेले बताए ।

Page 20
खेलकुद

नेपाल दुई जितसहित फर्कंदै

- कान्तिपुर संवाददाता

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हात पार्दै भारत भ्रमण टुंग्याएको छ । नेपालले बिहीबार तेस्रो तथा अन्तिम अभ्यास खेलमा नोएडा वान्डर्सलाई ४० रनले पराजित गरेको थियो । राजवादा क्रिकेट क्लबसँगको पहिलो खेल हारेको नेपालले दोस्रोमा जित पाएको थियो ।
केन्यासँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारी क्रममा रहेको नेपालले ग्रेटर नोएडास्थित गौतम बुद्ध युनिभर्सिटी मैदानमा टस जितेको थियो । नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाई २ सय ४८ रन बनायो । सुनील धमलाले सर्वाधिक ७४ रन बनाए । १ सय २८ बल खेलेका उनले ६ चौका प्रहार गरे । सुनीलले आसिफ शेखसँग पहिलो विकेटमा ५१ रन जोडे । आसिफले ३२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २२ रन बनाए । शरद भेषावकर पनि २२ रनमै आउट भए । आसिफका दाजु आरिफले ५७ बलमा २ चौकासहित २८ रन बनाए । राजेश पुलामी २३ बलमा १ चौका र ३ छक्का प्रहार गरी ३० रनमा आउट भए । विनोद भण्डारी ४१ र दीपेन्द्रसिंह ऐरी ३ रनमा नटआउट रहे । ३२ बलको इनिङ्समा विनोदले ३ चौका र २ छक्का प्रहार गरे । नोएडाका विकास मिश्रले २ विकेट लिए ।

जवाफमा नोएडा ४७.२ ओभरमा २ सय ८ रनमै अलआउट भयो । प्रियम गर्गले ४४, शिवम शर्माले ३८, बबी यादवले नटआउट २६ र राहुल चोपडाले २२ रन बनाए । नेपालबाट सोमपाल कामीले ३ विकेट लिए । उनले ७.२ ओभरमा १ मेडन राख्दै २८ रन खर्चेका थिए । शक्ति गौचन र सन्दीप लामिछानेले २–२ तथा वसन्त रेग्मी र करण केसी १–१ विकेट लिन सफल भए । शक्तिले ८ ओभरमा १ मेडन राख्दै २६ र सन्दीपले १० ओभरमा ४५ रन खर्चे । टिम शुक्रबार फर्कंदै छ ।

Page 24
हेल्लो शुक्रवार

नेपाली सिनेमाका सिल्भर लाइनिङ

हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनिन्छ । यतिबेला कलिउडले पनि आसलाग्दा प्रयासहरु देख्न थालेको छ । नेपाली फिल्म भन्नेबित्तिकै नाक खुम्च्याउनुपर्ने स्थिति छैन ।
- सुशील पौडेल

छिमेकी मुलुक भारत बलिउड फिल्म उद्योगका कारण विश्व प्रसिद्ध छ । विश्व फिल्म बजारमा बलिउड तेस्रो ठूलो उद्योगका रूपमा दह्रिसकेको छ । संसारभरबाट बलिउड फिल्मले राम्रो आम्दानी पनि गरिरहेको छ । भारतमै भने बलिउडको बजार झन्डै ४३ प्रतिशत मात्रै छ । जबकि तेलुगु र तामिल जस्ता दक्षिण भारतीय फिल्मकै बजार ३६ प्रतिशत रहेको मानिन्छ । दक्षिण भारतमा फिल्म हेर्ने संस्कृति उदाहरणीय मानिन्छ ।

नेपाली फिल्म उद्योग (औपचारिक रूपमा उद्योग घोषणा पनि भएको छैन) भने वर्षले आधा शताब्दी गुजारे पनि बजारमा भने अझै बच्चै छ । न त विदेशी टेरिटोरीमा आफूलाई फैलाउन सकेको छ न घरभित्रै । तर हरेक कालो बादलमा चाँदीको घेरा (सिल्भर लाइनिङ) हुन्छ भनिन्छ । यतिबेला पनि स्वदेशी फिल्म क्षेत्रमा केही सिल्भर लाइनिङ देखापर्न थालेका छन् ।
तीन वर्षअघि मात्रै आमिर खान स्टारर ‘धूम ३’ ले नेपालबाट मात्रै दुई सातामा झन्डै छ करोडको व्यापार गरेर हल्लाखल्ला मच्चाइदिएको थियो । जबकि उक्त समयमा नेपाली फिल्मलाई औसत ४० लाख रुपैयाँको बजेट धान्न पनि धौधौ परिरहेको थियो । कतिपय नेपाली फिल्मले त देशभरबाट तीन लाख रुपैयाँको पनि व्यापार गर्न सकिरहेका थिएनन् । तर अब नेपालमा आमिर खान वा सलमान खान, शाहरूख खानका फिल्मले मात्रै बम्पर ओपनिङ गर्ने दिन गए । त्यो स्टारडम यतिबेला नायक अनमोल केसी, सौगात मल्ल हुन् वा दयाहाङ राई तथा निर्देशनमा निश्चल बस्नेतलगायत केही फिल्मकर्मी, ब्यानरले देखाउन थालेका छन् ।

गत शुक्रबार फिल्म ‘लुट २’ रिलिज हुनु अगावै दुई दिनको शोज सोल्डआउट भयो । मंगलबार नै बुकिङ खोलिदिएको राजधानीको क्यूएफएक्स सिनेमाजका सबै २२ शोज रिलिजपूर्व नै हाउसफुल भए । पहिलो दिन नै फिल्मले डेढ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको दाबी छ । विकेन्ड बिजनेसमा जबर्जस्त देखिएको ‘लुट–२’ को कमाइ अहिलेसम्मकै कीर्तिमानी मान्न सकिन्छ । त्यसो त निश्चल बस्नेत निर्देशित ‘लुट–२’ सप्ताहन्तपछि शोजमा झन् बढोत्तरी गरेको छ । नेपाली फिल्म रिलिजले सोही साता रिलिज गरिएको शाहिद कपुर र कंगना रनावत स्टारर ‘रंगुन’ लाई समेत खुम्चाइदिएको छ ।

एकाध वर्षयता नेपाली फिल्मले स्वदेशी दर्शकको विश्वास आर्जन गर्न सफल देखिएका छन् । फस्ट डे फस्ट शो हेर्ने लहर नेपाली फिल्मका लागि पनि देखिनु आक्रामक बजार निर्माणको बलियो आधार हो । गत वर्ष फागुनमै रिलिज भएको थियो, ‘ड्रिम्स’ । अनमोल केसीको स्टारडमकै कारण रिलिजको दुई दिनमै डेढ करोड रुपैयाँको बिजनेस गरेको भनिएको फिल्मले त्यसपछि पनि वर्ड अफ माउथका आधारमा बक्सअफिसमा मनग्य कलेक्सन गर्न सक्यो । स्वदेशी फिल्मको रिलिज डेमा नै दर्शकलाई हलसम्म तान्ने पहिलो श्रेय अनमोललाई नै जान्छ ।

पाँच महिनाअघि रिलिज भएको कमेडी जानराको फिल्म ‘छक्का पञ्जा’ ले त कमाइमा नयाँ कीर्तिमान नै रच्यो । एक सय दिनभन्दा बढी चलेको रेकर्डदेखि सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड पनि आफ्नै नाममा राख्यो । दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको ‘छक्का पञ्जा’ को ओपनिङ भने मध्यम मात्रै थियो । तर फिल्मको व्यापारले विस्तारै पिकअप लियो र झन्डै २० करोड रुपैयाँको ग्रस कलेक्सन गर्‍यो । जबकि यसअघि ‘कोहिनूर’ ले बनाएको सर्वाधिक व्यापारको कीर्तिमान यस फिल्मका निर्माता तथा नायक श्रीकृष्ण श्रेष्ठको असामयिक निधनको सिमप्याथी फ्याक्टर मानिएको थियो । तर ‘छक्का पञ्जा’ ले दर्शक रिझाएरै उक्त रेकर्ड बनायो ।

नेपाली फिल्मले विदेश बजारमा आफूलाई चाहेजति फैलाउन नसकिरहे पनि स्वदेशमा भने बजार सकारात्मक बनाउँदै लगेको छ । नेपाली फिल्म भनेर नाक खुम्चाइहाल्नुपर्ने अवस्था पनि यतिबेला छैन । जसले गर्दा दर्शकले स्वदेशी फिल्मप्रति पनि नरम व्यवहार देखाउन थालेका छन् । राम्रा नेपाली फिल्मलाई सकभर हलमै गएर हेर्ने संस्कृतिको विकास हुनु स्थानीय बजार निर्माणका लागि बलियो खुड्किलो पनि हो ।

नेपाली फिल्मका दर्शक यतिबेला परिपक्व पनि बन्दै गइरहेको देखिन्छ । मल्टिप्लेक्स कल्चरले त्यसमा सघाइरहेको पनि छ । महिना दिनअघि रिलिज भयो, ‘जात्रा’ । यस फिल्ममा न कुनै स्टार थिए, न फाइट र गीतको चास्नी नै घोलिएर गुलियो पार्न खोजिएको थियो । थिए त केवल अभिनयका खुंखार विपिन कार्की, रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँ । अनि बलियो स्क्रिपले । आखिर दर्शकले ‘जात्रा’ लाई पनि रुचाइदिए । दर्जनौं गुन्डालाई तह लगाउने र फूलबारीमा कम्मर लच्काएर नाच्ने खाइलाग्दो हिरो र लोभलाग्दी हिरोइन नभए पनि दर्शकका लागि कथा र पटकथा नै फिल्मको मुख्य हिरो बनिदियो । सानो बजेटमा बनाइएको उक्त फिल्मले स्वदेशी बजारबाटै राम्रो नाफा कमायो भने विदेश राइट्स बोनस हुन पुग्यो ।

विदेशी महोत्सव र दर्शकमाझ यथेष्ट तारिफ र प्रशंसा बटुले पनि स्वदेशमा रिलिज गर्ने क्रममा ‘सेतो सूर्य’ का निर्माता तथा निर्देशक दीपक रौनियार तनावमा थिए । उनी भन्थे, ‘मेरो फिल्म घरकै दर्शकले रुचाएनन् भने मेरो मनमा शान्ति हुने छैन ।’ रिलिजपछि भने रौनियारले शान्तिको सास फेर्न पाए । हेरेका दर्शकले केही कमीकमजोरी औंल्याउँदै फिल्मको प्रशंसा नै गरे । रौनियारले भन्दै आएको नेपाली दर्शकमा फिल्म साक्षरताको कमी छ भन्ने भनाइ पनि यसपटक केही परिमार्जित भयो होला ।

त्यसैले त हिरो र हिरोइनको लभस्टोरी बिक्ने बेलामा दिदी र भाइको माया र स्नेहलाई मूल कथामा बाँधेर बनाएको ‘डाइङ क्यान्डल’ पनि रिलिज गर्न हिम्मत गरे, यसका निर्माता तथा निर्देशक नरेशकुमार केसीले । आखिर फिल्मबाट उनले अपेक्षा नै नगरेको सकारात्मक प्रतिक्रिया बटुले । आफैंले दुई दिनमा फिल्म उत्रने शंका गरेका नरेश नै दुई हप्तासम्म हलमा लागेको प्रत्यक्ष साक्षी बने ।पछिल्ला वर्षहरूमा जसरी स्वदेशी फिल्मले निर्माणमा परिवर्तित शैली र कथा चयनमा मौलिकता अपनाउन थालेका छन्, त्यसलाई दर्शकले पनि रुचाएका छन् र आत्मसात् गरेको देखिन्छ । यसले गर्दा बिनाकथामा नै पाँच फाइट र पाँच गीतलाई जोडेर फिल्म तयार पार्ने प्रवृत्ति हतोत्साहित हुँदै गएको छ । सफा नियतले फिल्म नै बनाउन आउने फिल्मकर्मीको प्रयास यतिबेला धेरै हदसम्म सफल बनिरहेको छ ।

एक वर्षयता सफल बनेका वा चर्चा बटुलेका फिल्महरू ‘छक्का पञ्जा’, ‘ड्रिम्स’, ‘जात्रा’, ‘डाइङ क्यान्डल’ सबै डेब्यु निर्देशनमा बनेका हुन् । ‘छक्का पञ्जा’ बाट दीपाश्री निरौलाले निर्देशनमा डेब्यु गरेकी हुन् भने ‘ड्रिम्स’ बाट भुवन केसीले । त्यसैगरी ‘जात्रा’ बाट प्रदीप भट्टराईले निर्देशनमा हात हालेर पहिलो प्रयासमै सफलता चाखे भने ‘डाइङ क्यान्डल’ बाट नरेशले । त्यसो त ‘लुट–२’ का निर्देशक निश्चल पनि भर्खर तेस्रो फिल्म बनाइरहेका नयाँ नै हुन् । तर दुर्भाग्य, व्यापार राम्रो गरे तापनि चुहावट र प्रदर्शकसँग निर्माताले गर्नु परिरहेको सेयरको अवैज्ञानिक सम्झौताका कारण कमाइ भने हात लाग्यो शून्य अवस्थामा नै छ । राम्रो व्यापारबाट राम्रो कमाइको अवस्था आउन सकेमा नेपाली फिल्म निर्माणमा व्यापारिक घराना पनि आकर्षित हुन सक्ने देखिन्छ । जसले फिल्म क्षेत्रलाई उद्योगका रूपमा बदल्न टेवा पुग्नेछ ।

घरभित्रै राम्रो व्यापार गरिरहेका वा राम्रो गर्ने संकेत देखाएका फिल्मका अचेल डायस्पोरामा समेत माग बढ्न थालेको छ । मोटो रकममा दर्जनौं देशहरूमा फिल्म बिक्री हुनुले पनि राम्रा फिल्म बनाउन चाहने निर्माताका लागि लगानीको जोखिम कम हुँदै गइरहेको छ । आखिर बजार र वस्तु एकअर्काका पूरक हुन् । वस्तु गुणस्तरीय हुँदा स्वत: बजारको माग पनि बढ्छ । र, बढिरहेको बजारका कारण पनि यतिबेला नेपाली फिल्मले नयाँ आवरण र साजसज्जासहित प्रतिस्पर्धामा निस्केका छन् । कालो बादलमा चाँदीको घेरा बाक्लिँंदै गइरहेको छ ।

Page 25
हेल्लो शुक्रवार

कार्टुन्ज क्रु

- कुम्भराज राई

कभर सङ म्युजिक भिडियो’ को लोकप्रियता बढेर अचेल ‘ओर्जिनल भिडियो’ कुन हो भनेर छुट्याउनै गाह्रो भइसक्यो । । त्यस्ता भिडियो बनाउने दर्जनांै योङ गु्रपहरू जन्मिएका छन् । तीमध्ये हाल निकै नाम चलेको छ, ‘कार्टुन्ज क्रु’ । युट्युबमा यो खुबै सर्च हुने गर्छ ।

यो समूहले दुई वर्षअघि ‘पिरतीको छाता ओढौंला...’ भन्ने गीतको भिडियो युट्युबमा अपलोड गर्‍यो । जसले भ्युअर्स मात्र बढाएन, त्यही गीतमा डान्स गरेर भिडियो अपलोड गर्ने प्रतिस्पर्धा नै चल्यो । उनीहरूको यो गीत हालसम्म युट्युबमा १२ लाख पटकभन्दा बढी भ्यु भइसक्यो ।

नेपालमा ‘कभर सङ’ भिडियो बन्न थालेको धेरै भएको छैन । खासगरी कभर सङमा अभिनयभन्दा बढी डान्स (नृत्य) गर्ने प्रतिस्पर्धा चलेको छ ।
कार्टुन्ज क्रु ‘नेपाली क्यान डान्स’ भन्ने मूल नाराका साथ आफ्नो यात्रा सुरु गरेको हो । अल्मोडा रानाको ‘फन्टास्टिक...’ बोलको गीतमा उनीहरूले बनाएको कभर सङ भिडियो यतिखेर सर्वाधिक लोकप्रिय छ । युट्युबमा सबैभन्दा बढी पटक हेरिएको नेपाली कभर सङ डान्स यही हो । हालसम्म यो भिडियो ८६ लाख पटकभन्दा बढी पटक हेरिएको छ । एक करोड नाघ्ने अनुमान ‘कार्टुन्ज क्रु’ को छ ।

ओर्जिनल भिडियोभन्दा बढी चर्चा हुन थालेपछि ‘मेरो गीतको पनि भिडियो बनाइदिनु है’ भनेर सर्जकहरू आफंैले अनुरोध गर्न थालेका छन् कार्टुन्ज क्रुलाई । ‘पुरानो डुंगा’ चलचित्रको ‘निर जहिले रिसाउने’... बोलको गीतको कभर सङ डान्समा त्यसै चलचित्रकी नायिका प्रियंका कार्की स्वयंले क्रुज गु्रपमा नाच्दै गीतलाई चर्चित बनाउने काम गरिन् । यो भिडियो ३५ लाख पटकभन्दा बढी हेरिएको छ ।‘मोर्डन डान्स’ का लागि विदेशी भिडियो हेर्नुपर्ने बाध्यतालाई कार्टुन्ज क्रुले कम गरेको छ । उनीहरूको कला देखेर दंग पर्ने युवाहरूको भीड बढ्दै गएको छ । युट्युबमा मात्र नभएर हिजोआज उनीहरू कलेजदेखि सडक र स्टेजमा आयोजित साना–ठूला सबै कार्यक्रममा देखिन थालेका छन् । यो समूह व्यावसायिक समूह बन्ने क्रममा अघि बढेको छ ।

को छन यसमा ?
कार्टुन्ज क्रुमा छ युवा र एक युवती गरी सात जना छन्– सविन कार्की, सरोज अधिकारी, आश्मा विश्वकर्मा, राम घले, लाक्पा लामा, सुविन चौहान र विकास राई । सविन कार्की ‘बिस्ट’ यो गु्रपका लिडर हुन् । उनीहरूको उमेर समूह २० देखि २४ वर्ष हो । समूहका सबै जना काठमाडौं उपत्यकामै जन्मे हुर्केका हुन् । तर उनीहरू फरकफरक स्थानमा बस्छन् । फरक कलेजमा पढ्छन् । विषय फरक भए पनि सबै ब्याचलर लेभलका विद्यार्थी हुन् ।

त्यसो त यी सबै जनाको नाच्ने रहर सानैदेखि थियो । तर एउटै समूहमा रहेर नाचिन्छ भन्ने कसैले सोचेका थिएनन् । विभिन्न डान्स गु्रपहरूमा ज्वाइन हुँदै आएका उनीहरूको भेटघाट २०१० मा भयो । ‘ब्वाइज अफ कीर्तिपुर’ भन्ने डान्स गु्रप टुटफुट भएको बेला उनीहरूको भेट भयो । अनि जन्मियो ‘कार्टुन्ज क्रु’ । सुरु–सुरुमा साना कार्यक्रमहरूमा मात्र उनीहरू नाच्थे । पहिलो पटक २०१४ मा उनीहरूले साथीको क्यामेरा लिएर कपनको
ह्वाइट गुम्बामा एउटा कभर सङ डान्सको भिडियो खिचे । त्यो भिडियो युट्युबमा अपलोड गर्नेबित्तिकै छोटो समयमै १५–२० हजार पटक हेरियो । त्यही उत्साहले गर्दा सविन कार्कीलाई क्यामरा किन्ने इच्छा बढेर गयो । उनले त्यतिखेर घोषणा नै गरे, ‘मैले क्यामरा किनेपछि युट्युबमा नेपाली डान्सको नम्बर वान बनेर देखाउँछु ।’

महिनौंदेखि जोगाएको पैसा र आमासँग मागेर सुरुमा ‘क्यानन डी ७०’ क्यामरा १ लाख ५० हजारमा किने । लगत्तै जोरजाम गरेर उत्ति नै पैसा थपेर क्यामरा स्ट्यान्ड लगायतका सामग्री खरिद गरे । अनि सुरु भयो डान्स भिडियो सुटिङ । सुरुमा ‘पिरतीको छाता ओढौंला’ बोलको गीतको भिडियो लोकप्रिय भयो । ‘फन्टास्टिक’ बोलको भिडियो त नौ दिनमा नौ लाख पटक हेरियो । अल्मोडा रानासँगको सामान्य विवादले गर्दा दुई महिनासम्म भिडियो ब्लक गरिएकाले केही भ्युअर्स संख्या घट्यो । तर अहिले समस्या समाधान भई पुन: अन गर्दासमेत भ्युअर्स ८६ लाख पटक नाघिसकेको छ ।

अझ अचम्मको कुरा के छ भने यी गु्रपका कुनै सदस्य डान्सको औपचारिक क्लास लिएर आएका होइनन् । इन्टरनेटबाट हलिउड गु्रपको डान्स हेर्दै आफंै ऐनामा हेर्दै अभ्यास गरेर अभ्यस्त भएका हुन् । सुरु–सुरुमा ‘बी बोइङ’ का लागि प्रस्ताव आउने गथ्र्यो । उनीहरू गु्रपमा आबद्ध भइसकेपछि ‘हिपहप डान्स’ लाई व्यावसायिक बनाउने नेपालको पहिलो पुस्ता बनेका छन् ।

सुरुमा उनीहरूका अभिभावक छोराछोरी बिग्रिने भए भनेर रिसाएका थिए । ‘तर हिजोआज अभिभावकको सपोर्ट पनि राम्रो छ,’ सविनले भने, ‘सबैको बुबा–ममीले गु्रपको काममा सहयोग गर्नुभएको छ । हिजोआज हामीले गु्रपकै काम गर्नका लागि पैसा माग्न पनि छोडेका छौं ।’ यही साताको शनिबार मात्र उनीहरूले नवनायिका एलिसा राईसँग ‘नाई मलाई थाहा छैन...’ बोलको गीतमा कभर सङ डान्स निर्माण गरी युट्युबमा राखेका छन् । दुई दिनमै करिब २ लाख पटक भ्यु भएको छ ।

फ्यान फ्लोइङ एकदमै बढेको छ । टिन र युथहरू नै उनीहरूका फ्यान छन् । कतिपयले डान्स सिकाइदिनुस् भन्ने अनुरोध पनि गरिरहेका छन् । तर कार्यक्रममा गु्रप नै जानुपर्ने र पढाइलाई समेत ध्यान दिनुपर्ने भएकाले सिकाउने काममा समय दिन नसकेको उनीहरूले बताए । हालसम्म १२ वटा जति मात्र ‘कभर सङ भिडियो’ युट्युबमा अपलोड गरेका उनीहरू नेपालमा डान्स गरेरै सेलिब्रिटी बन्ने पहिलो पुस्ता हुन सकेकोमा खुसी छन् ।
आफूले अपलोड गरेको भिडियोको कपी राइट नहुने हुँदा गुगलले पे (भुक्तानी) गर्ने रकम उनीहरूले पाउँदैनन् । तर पनि भिडियोकै कारण स्टेज प्रोग्रामहरूका लागि बोलाइने हुँदा फाइदा नै भएको गु्रप लिडर सविनले बताए । हाल उपत्यका बाहिर एउटा कार्यक्रममा जान उनीहरूले ७० हजारसम्म लिने गरेका छन् । उपत्यकाभित्र चाहिँ आयोजकअनुसार पारिश्रमिक लिने गर्छन् ।

गु्रप ठूलो भएकाले यसलाई निरन्तरता दिन गाह्रो छ । तैपनि अहिलेचाहिँ उनीहरू सबैले समय मिलाइरहेका छन् । सरोज अधिकारी र आश्मा विश्वकर्मा केही समयदेखि ‘एक्टिङ स्टडी’ सम्बन्धी वर्कसपमा सहभागी भइरहेका छन् । सात सदस्यमध्ये एक मात्र केटी हुन्, आश्मा । उनी पहिलेदेखि नै सविन लगायतका सदस्यहरूसँग परिचित थिइन् । गु्रपका सबैले ‘तिमी राम्रो मिहिनेत गर्छौ । हाम्रो गु्रपमा मिलेर डान्स गर्नुपर्छ’ भनेपछि आबद्ध भइन् ।

हेर्दा सबै केटाहरूको गु्रपमा एक्लै नाचेको देखिए पनि सबैले बहिनीका रूपमा सपोर्ट गरेको आश्माले बताइन् । ‘अहिले त सबैले राम्रो प्रतिक्रिया दिनुहुन्छ । साह्रै खुसी लाग्छ,’ आश्माले भनिन्, ‘एउटा केटी मान्छे भएर नाचेकै कारण पाएको हौसलाले निकै उत्साहित भएकी छु ।’
कार्टुन्ज क्रुलाई दुई वर्षअघि मात्र चाइनामा आयोजित ‘वल्र्ड लिजर गेम्स’ मा चाइनिज कल्चरल एन्ड आर्ट्स इन्स्टिच्युटले निम्तो गर्‍यो । विभिन्न किसिमको खेल प्रतियोगिता हुने त्यस कार्यक्रममा डान्स प्रतियोगिताको विधामा उनीहरू दोस्रो भए । पहिलो कोरिया र तेस्रो चाइना भए । १ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पारे ।

कार्टुन्ज क्रुको डान्स कन्सेप्ट, निर्देशन, भिडियो इडिटिङ लगायतका सबै काम ग्रुप लिडर सविनले गर्छन् । अझ क्यामरामा उनका भाइ सञ्जयले सहयोग गर्छन् । अरू साथीहरूको सहयोग त छँदैछ । ग्रुप लिडर सविनले कक्षा ८ मा हुँदै आफ्नो निक नेम ‘बिस्ट’ राखेका थिए । सधैं अरूभन्दा बेस्ट हुने इच्छा भएकाले बेस्टको पछाडि एउटा ई थपेर निक नेम नै ‘बिस्ट’ बनाएका हुन् ।

हेल्लो शुक्रवार

गो–ग्रिन, फिल ग्रिन

- सुरज कुँवर

सावित्री बडालको घरमा यसपटक एसियाली मुलुकका विदेशी पाहुना थिएनन् । थियौं त केही नेपाली । अघिल्लो शनिबारको साँझ हामी बनेपाबाट १३ किमि अगाडि बीपी हाइवे हुँदै पात्लेखेत पुग्दा सावित्री अगेनामा दूध उमाल्दै थिइन् । विदेशीलाई झैं उनले रातो टीका लगाई हामीलाई आँगनमै रिसिभ गरिन् । अनि सोधिन्, ‘कालो चिया बनाऊँ कि सेतो ?’

हामी थियौं बीपी हाइवे मुन्तिर । काठमाडौंदेखि ४२ किलोमिटर पर । घर नम्बर ७ । अर्थात् काभ्रेको पात्लेखेत सामुदायिक होमस्टे । हामी बास बस्ने घरका मूली रहेछन् केशव बडाल । उनी होमस्टे एसोसिएसन नेपालका केन्द्रीय उपाध्यक्ष पनि रहेछन् । अचेल यहाँको होमस्टे ट्राभल/टुर एजेन्सीहरूले डुलाउने विदेशीहरूको आइटीनरीमा पनि पर्ने रहेछ । कतै पदयात्रा सकेर फर्किनेहरू गाउँले जीवन महसुस गर्न यतै आउँदा रहेछन् । काठमाडौंमा डेरा/अपार्टमेन्टमा बस्दै आएका नेपालीलाई आफ्नै मूल घर पुगेको अनुभव लिन पनि होमस्टेको एक रातको बसाइ उपयोगी रहेछ ।

साँझ खाना खानुअघि सावित्री भाउजूले बिगौती खुवाउने अफर गर्नुभयो । केही दिनअघि मात्रै ब्याएको गाईको बिगौती खान पाइयो । ‘यस्तो मौका होटल, रिसोर्टमा कहाँ जुर्छ ?,’ घरमूली बडालले बेलुकीपख भने, ‘तपार्इंहरू भाग्यमानी हुनुहँुदोरहेछ, बिगौती चाख्न पाउनुभयो ।’ कुराउनी जस्तो बुरबुरे बिगौतीको स्वाद लिन पाएकोमा झापाकी नीता भट्टराई दङ्गिइन् । होमस्टेको मज्जा भनेकै गाउँले जीवनशैलीलाई लाइभ हेर्न, भोग्न पाउनु हो ।
अहिले पात्लेखेतमाथि फूलबारी, मानेगाउँ, पनौती र धुलिखेलसँगैको भट्टडाँडामा पनि गाउँलेले होमस्टे (घरबास) चलाएका रहेछन् । धुलिखेल, बनेपा घुम्दै यहाँ आउनेहरू पनि हुँदारहेछन् । अमेरिकाको युनिभर्सिटी अफ वासिङ्टनका १० विद्यार्थी र २ जना प्रोफेसरलाई पहिलोपटक आतिथ्य दिलाएका फूलबारी पाहुना घर तथा नमुना फार्मका सञ्चालक श्रीकृष्ण धिताल अर्गानिक खाद्यान्न, स्वच्छ वातावरण, नेचुरल बस्तीमा गाउँलेले जे खान्छन् त्यही खुवाउने अभियानमा डटेरै लागेका छन् । काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङमा मास्टर्स अध्ययनरत यी २७ वर्षीय ग्रिन भिलेजमा इको टुरिजम विकाससँगसँगै गाउँलेहरूलाई उद्यमशील बनाउने अभियानमा पनि छन् ।



‘काठमाडौं विश्वविद्यालय, धुलिखेल हस्पिटल, यहाँका रिसोर्टहरूको भान्साको आकार दिनानुदिन बढ्दै गइरहेको छ, हामी ती भान्साले खपत गर्ने अर्गानिक खाद्यान्न, तरकारी उत्पादनमा पनि जोडतोडले लागिपरेका छौं,’ भूकम्पबारेको सेमिनारमा केही दिनका लागि १६ जना नेपालीको टोलीसहित गत मे महिनामा जापान पुगेका उनले फेसबुकमार्फत भने । अर्गानिक फार्मिङमा उनले गाउँलेहरूलाई पनि सहभागी गराएका छन् । होमस्टेमा उनले आफ्ना शिक्षक बुबा, आमा, स्नातक सकेकी पत्नी र इन्जिनियर भाइलाई पनि सहभागी गराएका छन् ।

होमस्टेमा नेपालीको दाँजोमा विदेशी खुबै आनन्द लिँदारहेछन् । हामीलाई सामान्य लाग्ने क्रियाकलाप, वस्तु, चीजबिज उनीहरूका लागि रोचकै हुने रहेछ । हरेक छाक घरमूलीसँगै भान्सामा पलेंटी कसेर सिस्नु, कोदो, फापर, गुन्द्रुक, दही, मोहीको स्वाद पाउँदा खुबै रमाउँदारहेछन् । कुनै साइतमा गाउँका सांस्कृतिक कार्यक्रम, बिहे, व्रतबन्ध परिहाले सहभागी हुनु, खैंजडी, भजन, पूजा त उनीहरूका लागि अनौठो नै हुनेरहेछ । सावित्रीका घरमा पाएको यस्तै अनौठा अनुभुवबारे ताइवान लगायतका अतिथिहरूले डायरीमा दिल खोलेरै लेखेर फर्केका छन् ।

यहाँ आएपछि केही–केहीले नेपाली शब्द बोल्ने प्रयास गर्छन् । केही न केही सिक्छन् पनि । नमस्ते, बुबा, आमा त होमस्टेमा अनिवार्य जस्तै हुने रहेछ । त्यसमा पनि रेशम फिरिरीलाई आफ्नै शैलीमा गाउँदा उनीहरू पनि दंग, गाउँलेलाई पनि रमाइलो । यस्तै यस्तै अनुभव बटुलेर होमस्टेको बसाइलाई स्मरणीय बनाउने योजना भए साथीसंगी, परिवारका साथ केही दिनका लागि पात्लेखेत, फूलबारी, पनौती, मानेगाउँ, भट्टेडाँडाको यात्रा तय गर्दा हुन्छ । गाउँको यात्राअघि फेसबुकमा यी गाउँको नाममा होमस्टे जोडेर वा गाउँको नाम अघिल्तिर ह्यासट्याग राखेर पेज सर्च गर्नुभयो भने झनै सजिलो हुन सक्ला ।

Page 26
हेल्लो शुक्रवार

सेल्फ पावर ट्रेनिंग

- मकर श्रेष्ठ

इलामका अमरदीप भट्टराई स्काउटमा लागेको ५ वर्ष भयो । गत वर्ष बेसिक लेबलको तालिम गरे । हालै एडभान्स तालिम पनि सकाए । यसले उनको आत्मबल मात्रै बढाएन, आपत्मा परेकालाई उद्धार गर्न सक्ने सीप र आत्मविश्वास पनि जगायो । राजधानीको ह्वाइट फिल्ड आवासीय विद्यालयका एकेडेमिक कोर्डिनेटर भट्टराई ४२ औं ब्याचको ट्रुप लिडर पनि थिए । नुवाकोटको ककनीमा ७ रात, ८ दिन भएको तालिमले उनी आफूलाई फरक महसुस गर्न थालेका छन् ।

 ‘एकान्तमा हराउँदा कसरी सर्भाइभ हुने, बाटो कसरी पत्ता लगाउने भन्ने सिकें,’ उनी भन्छन्, ‘आफ्नो छाया, जंगलमा रूखको छाया हेरेर पनि बाटो पत्ता लगाउन यो तालिमले सिकायो ।’ आपत् परेकालाई स्थानीय स्रोत साधन प्रयोग गरेर कसरी उद्धार गर्ने ? त्यो पनि सिकें ।’
गाउँमा डोको बोक्थे । डोरी पनि बान्थे । तर त्यो सिकाइ व्यवस्थित थिएन । आठ दिनको तालिमले उनको सीपलाई निखार्‍यो । यसअघि स्काउटको एडभान्स तालिममा रेस्क्यु र डिजास्टर म्यानेजमेन्टको कोर्स थिएन । गत वर्षको भूकम्पपछि एडभान्स तालिममा रेस्क्युलाई पनि समावेश गरिएको छ । ‘पहिला साधारण सेवा गर्थे । अब आकस्मिक अवस्थामा पनि रेस्क्यु गर्न सक्ने भएँ,’ उनले भने ।

उनले तालिममा सिकेको ज्ञान आफ्ना विद्यार्थीलाई सिकाउनुपर्ने हुन्छ । धादिङकी रविना पौडेलले पनि यसपालि एडभान्स कोर्स पूरा गरिन् । उनी नीलकण्ठ माविमा १२ कक्षाकी पत्रकारिताकी विद्यार्थी हुन् । उनले अब आफ्नै विद्यालयका सहपाठी र तल्लो कक्षाका विद्यार्थीलाई सिकाउने छिन् । उनले प्रकृतिसँग खेल्दै सिक्ने उपाय जानिन् । जाडो र गर्मीमा कसरी घुलमिल हुने भन्ने ज्ञान भयो । भाडा नहुँदा कसरी पकाएर खाने, त्यो पनि राम्ररी जानिन् । ‘तालिमले स्वावलम्बी बनाउन सिकायो, सिलाइ बुनाइको ज्ञान पनि दियो,’ उनले भनिन् ।

तालिममा सहभागी मन्थली माविकी प्रविना पौडेलले तालिमले स्वावलम्बी, मितव्ययी, समझदारी, मिलनसार, अनुशासित र नेतृत्वदायी बन्न सिकाएको बताइन् । ‘समय व्यवस्थापन गर्न जानें,’ उनी भन्छिन्, ‘तालिमबाट फर्केपछि १८ सय विद्यार्थीलाई आफूले सिकेको ज्ञान बाँड्दै छु ।’ विद्यालयको प्रगतिमा स्काउटको पनि भूमिका रहेको उनको अनुभव छ । विद्यालयले विद्यार्थीलाई स्काउटमा अनिवार्य बस्नुपर्ने नियम बनाएको छ ।
यसपालिको एडभान्स तालिममा महिलातर्फ ३८ र पुरुषतर्फ ४८ जना सहभागी थिए । स्काउटका राष्ट्रिय सचिव लोकबहादुर भण्डारीले यस्तो तालिमबाट मानिसमा समूहमा बसेर काम गर्ने कला अभिवृद्धि बढ्ने बताए ।

६ देखि ८ जनाको समूहमा विभाजन गरेर तालिम दिइएको हुन्छ । ८ जनासम्मको समूहलाई स्काउटमा पेट्रोल भनिन्छ । तालिम लिएका युवायुवतीले ११ देखि १६ वर्ष उमेर समूहका बालबालिकालाई तालिम दिन सक्छन् । बेसिक तालिम लिएकाले सदस्यता दिने, बेडेल पावल पिक र अन्नपूर्ण ब्याच दिन सक्छन् । स्काउट एडभान्स तालिम लिएकाले कञ्चनजंघा र एभरेस्ट ब्याच दिन सक्छन् । राष्ट्रपति ब्याचका लागि तयारी गराउन सक्छन् ।

तालिम लिन कम्तीमा २० वर्ष उमेरको हुनुपर्छ । बेसिक तालिम लिएको ६ महिना पूरा गरेको र तालिम चलाएको हुनुपर्छ । स्काउटका प्रमुख आयुक्त रवीन दाहालका अनुसार यो तालिम लिने नेपालमा दुई हजारभन्दा बढी छन् । तालिम लिने अधिकांश शिक्षक छन् । जो शिक्षक छैनन्, टोलमा (ओपन युनिट) स्काउटको टु्रप चलाएर बसेका हुन्छन्, उनीहरू पनि तालिममा सहभागी हुन पाउँछन् । एक टु्रपमा २४ देखि ३२ जना हुन्छन् ।
नुवाकोटकै दिव्यरत्न बोर्डिङ स्कुलकी शिक्षिका श्रेया प्रधान तालिममा सिकेको ज्ञान कक्षामा सिकाइरहेकी छिन् । ‘मिहिनेत गर्न र साहसी बन्न सिकायो,’ उनले भनिन्, ‘अरूलाई कसरी हेल्प गर्ने ? हरायो भने बाटो खोज्ने, शत्रुलाई कसरी पराजय हुने भन्ने तालिमले सिकायो ।’

नेपाल स्काउटले फागुन पहिलो साता आयोजना गरेको तालिमबाट ४१ र ४२ औं कोर्सका सहभागी युवाहरू दीक्षित भए । महिलातर्फ ३५ औं र ३६ औं कोर्सका सहभागीहरू दीक्षित भएका हुन् । तालिमेहरू ककनीको चिसोमा टेन्टमै बसे । आठ दिनसम्म आवश्यक पर्ने खानेकुरा आफैंले बन्दोबस्त गरेका थिए । एउटा पेट्रोलमा रहनेले आफूलाई आवश्यक पर्ने खानेकुरा, पकाउने भाँडा र ओढ्ने–ओछ्याउने आफैंले जोहो गरेका थिए । क्याम्पको सुरक्षा गर्न राति पालैपालो गार्ड बस्छन् । बिहान उठेर एक्सरसाइज गर्छन् । खाजा खान्छन् । खाजा र खाना पकाउने निश्चित समय हुन्छ । खाजा पकाउन आधा घण्टा र खाना (दाल, भात, तरकारी र अचार) पकाउन एक घण्टा समय दिइएको हुन्छ । त्यो समयभित्र खाना पकाएर खाइसक्नुपर्ने हुन्छ । तोकिएको समय पूरा भएपछि सिट्ठी बज्छ । खाना पकाउन वा खान बाँकी छ भने छाडेर सामेल हुनै पर्ने नियम हुन्छ । ‘एक जनाले गल्ती गर्‍यो भने सबैको नम्बर काटिन्छ,’ ट्ेरनर राजीव खत्री भन्छन्, ‘त्यसैले पनि यो तालिममा सहभागीहरू गल्ती गर्दैनन् । नियममा बाँधिएर तालिम पूरा गर्छन् ।’

स्काउटको बेसिक तालिम सुरक्षाकर्मीले गर्नेभन्दा कम छैन । यो तालिम सुरक्षाकर्मीले गरेजस्तै झल्को दिन्छ । बिहान खाजा खाएपछि झन्डोत्तोलन (फ्लाग होस्टिङ सेरोमनी) मा सामेल हुनुअघि हरेक पेट्रोलको टेन्टमा इन्फेक्सन हुन्छ । त्यहाँ व्यक्तिगत र क्याम्पसको सरसफाइ, नयाँ काम के भयो भन्ने जाँच हुन्छ । काउन्सिलरहरूले हरेक तालिमेको दाह्री काटेको छ कि छैन ? गाला मसार्छन् । फ्ल्याग सेरोमनीमा कसको के कमजोरी भयो ? प्रतिवेदन सुनाइन्छ । एक जनाले गल्ती गरे सबैको गल्ती ठहरिन्छ । सबैले गल्ती गरे एकले पनि गल्ती गरेको मानिन्छ ।

तालिमको सातांै दिन ओभर नाइट हाइक गर्न जंगल पठाइन्छ । उनीहरूले साथमा टेन्ट, पानी, खानेकुरा, टर्च, कुखुरी, लट्ठी लगाएर जानुपर्ने हुन्छ । त्यो रात कहाँ बास पर्ने हो भन्ने तालिमेलाई थाहा हुँदैन । घाम अस्ताएपछि साँझमा जंगलमा छाडिन्छ । प्रत्येक पेट्रोललाई बाटो पहिल्याउने पत्र र कम्पास दिइएको हुन्छ । पहिलो पत्रमा लेखिएको संकेत अनुसार बाटो पहिल्याउँदै जानुपर्ने हुन्छ । चिठीमा कुनै रूख वा संकेत गरेको हुन्छ । त्यो संकेतमा यति डिग्री उत्तर, दक्षिण, पूर्व, पश्चिम भनिएको हुन्छ । त्यसलाई पछ्याउँदै आफ्नो बासस्थान पहिल्याउनुपर्ने हुन्छ । ‘चार घण्टा टाढासम्म हिँडाइन्छ । बेलुका ६ बजे हिँड्यो भने १० बजे मात्रै क्याम्प पुग्छन्,’ प्रमुख आयुक्त दाहालले भने, ‘कतिपय पेट्रोल हराउँछन् । आकस्मिक अवस्थामा हराउँदा मात्रै खोल्ने गोप्य पत्र दिइएको हुन्छ । त्यसमा सीधै बाटो र आफू पुग्ने ठाउँ बताइएको हुन्छ । त्यसको आधारमा बाटो पत्ता लगाउनुपर्ने हुन्छ ।’ गोप्य पत्र बिनाआधार खोलिएमा त्यो पेट्रोलमा सहभागी सबैको नम्बर काटिन्छ । उनीहरूले स्पष्टीकरणसमेत दिनुपर्ने हुन्छ ।
ककनीको जंगल र शिवपुरी राष्ट्रिय निकुञ्जको घना जंगलमा चितुवा, बँदेल र अन्य जनावरबाट सुरक्षित भएर हिँड्नु अर्को चुनौती हो । सुरक्षाका लागि हरेकले खुकुरी भिरेका हुन्छन् । पत्रमा कुन ठाउँमा पुगेपछि टेन्ट गाड्ने भन्ने उल्लेख हुन्छ । त्यसकै आधारमा ठाउँ पत्ता लगाएर टेन्ट गाडेर बास बस्छन् । जंगलमा छाडिएका तालिमेको निगरानी गर्न उनीहरूले नदेख्ने किसिमले छुट्टै टोली पठाइएको हुन्छ । ‘यो अभ्यासबाट सेल्फ पावर बढ्छ,’ प्रमुख आयुक्त दाहालले भने ।

हेल्लो शुक्रवार

सामसुङको सट्टा...

- हेल्लो शुक्रबार

यो वर्षको मोबाइल वल्र्ड कंग्रेसमा सामसुङले दुई ट्याब्लेट सार्वजनिक गरे पनि ती कसैलाई आकर्षित गर्ने खालका थिएनन् । मोबाइलको महाकुम्भमा यो वर्ष विश्वकै ठूलो स्मार्टफोन निर्माताको उपस्थिति त्यति उत्साहजनक भएन । यसले अन्य स्मार्टफोन निर्मातालाई भने उत्साहित तुल्यायो ।

स्पेनमा हुने मोबाइल वल्र्ड कंग्रेस मोबाइल निर्माताको लागि महामेलाझैं हुन्छ । विश्वका हरेक ठूला मोबाइल निर्माता यो बेला आफ्नो नयाँ प्रडक्ट र प्रविधिको घोषणा, सार्वजनिक गर्ने मौका छोप्छन् किनकि रुचि हुनेहरूले यो बेलालाई विशेष रूपले हेरेका हुन्छन् ।

यो वर्षको मोबाइल वल्र्ड कंग्रेस बिहीबार (हिजो) सकिएको छ । यो वर्ष एलजी, सोनी, हुवावे र नोकियाले मोबाइलको यो कुम्भ मेलाको फाइदा उठाए । यो वर्ष उनीहरूकै प्रडक्टको बढी चर्चा र बहस भए । तर, विश्वकै ठूलो स्मार्टफोन निर्माता कम्पनी सामसुङका लागि यो मौका सुखद रहेन । उसले आफ्ना दुई ट्याब्लेट त सार्वजनिक गर्‍यो तर ती कसैको ध्यान खिच्न सक्ने खालका रहेनन् ।

आफ्नै समस्याले थलिएको सामसुङ यो वर्ष ग्यालेक्सी एस एइट सार्वजनिक गर्ने तयारीमा छ तर उसले यसबारे मोबाइल वल्र्ड कंग्रेसमा चर्चा गर्न ठीक ठानेन । कुल मोबाइल बजारको तीन चौथाइ हिस्सा ओगट्ने एन्ड्रोइड फोन निर्मातामध्ये सबैभन्दा धेरै फोन बिक्री गर्ने कम्पनी हो सामसुङ तर यो समयमा सामसुङसँग प्रयोगकर्तालाई देखाउने कुनै नयाँ स्मार्टफोन छैन ।

पड्किने समस्या देखिएपछि केही महिनाअघि सामसुङले बजारमा पठाएको आफ्नो ग्यालेक्सी नोट सेभेन फिर्ता लिएर यसको उत्पादन बन्द गर्ने घोषणा गरेको थियो । यो घटनाले शिथिल भएको सामसुङको साखमा धक्का पुग्ने फेरि अर्को घटना भयो । केही साताअघि मात्रै दक्षिण कोरियाली प्रहरीले सामसुङका कार्यकारी प्रमुखलाई एक भ्रष्टाचार काण्डमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।

सामसुङ आफ्नै समस्याले जेलिएको यो बेला सबैभन्दा राम्रो मौका चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले उठाइरहेको छ । उसले मोबाइल वल्र्ड कंग्रेसमा आफ्नो पछिल्लो फोन पिटेन सार्वजनिक गर्‍यो जुन आगामी केही सातामा बजार पुग्नेछ । हुवावेले पिटेनको क्यामरालाई बिक्रीको आधार बनाएको छ । पिटेनमा प्रयोग भएको फ्रन्ट क्यामराले मानिसको संख्या गन्न सक्छ र एकभन्दा बढी व्यक्ति भए स्वत: यसले वाइड एंगलमा खिच्न सक्छ । साथै, यसको रेअर क्यामरामा थ्रीडी सेन्सिङ प्रविधि भएको कम्पनीको दाबी छ, जसले उत्कृष्ट पोट्रेट फोटो खिच्न सक्छ । उसले अघिल्लो वर्ष सार्वजनिक गरेको पिनाइन मोडलको स्मार्टफोनले प्रयोगकर्ताबाट राम्रो रिभ्यु पाएको थियो ।

सामसुङले यो वर्ष ग्यालेक्सी एस एइट सार्वजनिक गरे हुवावेको पिटेन उसको प्रतिस्पर्धी हुनेछ । र, आइफोनको १० वर्ष पुगेको अवसरमा एप्पल पनि यो वर्ष आफ्नो नयाँ फोन सार्वजनिक गर्ने तयारीमा छ ।हुवावे अहिले एप्पल र सामसुङपछि विश्वकै तेस्रो ठूलो स्मार्टफोन निर्माता हो । एन्ड्रोइड बजारमा यसले सामसुङपछिको दोस्रो स्थान ओगट्छ र सन् २०१८ सम्ममा एप्पललाई पछि पारेर मोबाइल बजारको दोस्रो स्थानमा उक्लिने कम्पनीको योजना छ ।

अघिल्लो वर्ष मात्रै कम्पनीले १ सय ३९ बिलियन डलर बराबरको स्मार्टफोन बिक्री गरेको थियो जुन २०१५ भन्दा ३० प्रतिशतले बढी हो । उसले पछिल्लो समय एसिया र युरोपेली बजारमा आफ्नो पकड बनाउँदै लगेको छ । र, आफूलाई सामसुङको राम्रो विकल्पको रूपमा उभ्याएको छ । अघिल्लो वर्षको बिक्री दरलाई हेर्दा हुवावेले कुल मोबाइल बजारको ९ प्रतिशत हिस्सा ओगट्छ । यो १५ प्रतिशत हिस्सा ओगट्ने एप्पल र २१ प्रतिशत हिस्सा ओगट्ने सामसुङभन्दा पछाडि भए पनि यसको बजार हिस्सा बर्सेनि बढ्दो छ ।

हुवावेसँगै चिनियाँ निर्माता ओप्पो, भिभो र साओमीले सामसुङलाई बजारमा टक्कर दिइरहेका छन् । यिनीहरू क्रमश: विश्वकै चौथो, पाँचौं र छैटौं ठूला स्मार्टफोन निर्माता हुन् । पछिल्लो समय मध्यम मूल्यका स्मार्टफोन बिक्रीका हिसाबमा यी तीनै कम्पनीको बिक्री दर वार्षिक बढ्दै छ ।
ह्यारिस पोलले अमेरिकामा गरेको एक सर्वेक्षणअनुसार सामसुङको साख ७ औं नम्बरबाट ४२ औं नम्बरमा झरेको छ । ग्यालेक्सी नोट सेभेन पड्किने घटना भएपछि यस्ता धेरै सर्वेक्षणहरू भएका छन् जसले सामसुङको साख घटेको निष्कर्ष निकालेका छन् । यस्ता तथ्यांकहरू केलाउने हो भने हुवावे, ओप्पो, भिभो र साओमीजस्ता कम्पनीको बिक्री दर अझै बढ्नेछ किनकि यी कम्पनीले राम्रा स्मार्टफोन मध्यम मूल्यमा बिक्री गरिरहेका छन् र फिचरमा सामसुङले यिनीहरूसँग प्रतिस्पर्धा गरिरहनुपर्नेछ ।
एजेन्सीको सहयोगमा

हेल्लो शुक्रवार

स्लो मोसन खिच्न सक्ने फोन

हेलो टेक

सोनीले बार्सिलोनामा जारी मोबाइल वल्र्ड कंग्रेसमा नयाँ फोन सार्वजनिक गरेको छ जसले एक सेकेन्डमा करिब १ हजार वटा फ्रेम खिच्न सक्छ । यसमा भएको क्यामरा अहिले बजारमा उपलब्ध सामसुङ र एप्पलका पछिल्ला फोनभन्दा उत्कृष्ट छन् ।

सोनीले आफ्नो पछिल्लो फोन एक्सपेरिया एक्सजेड प्रिमियम क्यामरा केन्द्रित गरेको छ । फोनमा प्रयोग गरिएको इमेज सेन्सरले विशेष प्रकारको भएको सोनीले जनाएको छ । सोनीले नै एलजी, सामसुङ, एप्पलजस्ता कम्पनीलाई इमेज सेन्सर प्रविधि बेच्ने गर्छ । सामान्यतया सोनीले आफूले प्रयोग गरेको प्रविधि करिब एक वर्षपछि अन्य कम्पनीलाई बिक्री गर्ने गरेको छ । अघिल्लो वर्षको तथ्यांकअनुसार सोनीको मोबाइल बजारमा १ प्रतिशत हिस्सा छ ।

हेल्लो शुक्रवार

नोकियाको पुनरागमन

हेलो टेक

नोकियाले १७ वर्षपछि प्रयोगकर्ताले सर्वाधिक रुचाएको ३३१० मोडल रि लञ्च गरेको छ । बार्सिलोनामा भएको मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले नयाँ स्वरूपमा यो फोन सार्वजनिक गरेको हो । सन् २००५ मा उत्पादन बन्द हुनुअघि ३३१० मोडलका १ सय २६ मिलियन फोन बिक्री भएको थियो ।
नयाँ फोन नोकिया ब्रान्डमा फिनल्यान्डको कम्पनी एचएमडी ग्लोबलले बिक्री सुरु गरेको हो । नयाँ स्वरूपको यो फोन स्मार्टफोनभन्दा पनि फिचर फोन हो । यसमा एस थर्टी प्लस अपरेटिङ सिस्टम प्रयोग गरिएको छ भने यसले २ दशमलव ५ जी कनेक्टिभिटी सपोर्ट गर्नेछ जुन थ्रीजीभन्दा स्लो हुनेछ । यसले पुरानो नोकिया फोनजस्तै ब्याट्री ब्याकअप दिने निर्माता कम्पनीको दाबी छ । पुराना स्मार्टफोन प्रयोगकर्ताहरू नोकियाको ३३१० मोडलसँग परिचित भएकाले यसको बिक्री बढ्ने कम्पनीको अनुमान छ ।

हेल्लो शुक्रवार

गुगल असिस्टेन्ट सबैमा

हेलो टेक

गुगलले आफ्नो डिजिटल असिस्टेन्ट सेवा आफ्नो पछिल्लो अपरेटिङ सिस्टम चल्ने सबै एन्ड्रोइड फोनमा विस्तार गर्ने घोषणा गरेको छ । अघिल्लो वर्ष सार्वजनिक यो फिचर यसअघि गुगलले उत्पादन गरेको सीमित डिभाइसमा मात्रै उपलब्ध थिए । एप्पलको सिरीको प्रतिस्पर्धी मानिएको गुगल असिस्टेन्ट यही सातादेखि अमेरिकाका अंग्रेजी बोल्ने प्रयोगकर्ताका लागि सुरु हुने कम्पनीले जनाएको छ । एन्ड्रोइडको नुगट र मार्समेलो भर्सन प्रयोग गर्ने प्रयोगकर्ताले गुगल असिस्टेन्टको अनुभव गर्न पाउने छन् ।

लगत्तै यो फिचर क्यानडा र बेलायतका अंग्रेजी बोल्ने प्रयोगकर्ताका लागि सुरु गरिने र जर्मनी भाषामा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, गुगल असिस्टेन्टमा अन्य भाषाहरू थप्दै जाने कम्पनीको योजना छ । प्रयोगकर्ताले आवाजमार्फत दिएको निर्देशनबाट स्मार्टफोनमा विभिन्न काम गर्न सक्ने यस्ता भर्चुअल असिस्टेन्ट प्रयोगकर्ताले रुचाइरहेका छन् ।

Page 27
हेल्लो शुक्रवार

इब्राको उमेर

- राजु घिसिङ

स्वीडिस फरवार्ड जाल्टन इब्राहिमोभिचले टिन एजमै उत्कृष्ट फरवार्ड बन्ने संकेत दिइसकेका थिए । उनी घरेलु क्लब माल्मोबाट खेल्दै थिए । उनलाई इंग्लिस क्लब आर्सनलले अनुबन्ध गर्न चाहेको थियो । तर, १७ वर्षे केटो जाल्टनलाई ‘ट्रायल’ मा हेरेपछि मात्र लिने गनर्स म्यानेजर आर्सेन वेंगरले भनिदिए । जाल्टनले जवाफ दिएका थिए, ‘जाल्टन डजन्ट डु अडिसन ।’
उनी त्यसपछि कहिल्यै आर्सनलसँग आबद्ध हुने सम्भावनाको नजिक पनि भएनन् । वेंगरले चाहेर पनि भित्र्याउन नसकेका ठूला खेलाडीमा पर्छन् जाल्टन् । उनी यो पुस्ताका उत्कृष्ट फरवार्ड हुन् र छुचो पनि । उनी निकै चोटिला वाक्य बोल्ने गर्छन् । उनले पीएसजीमा छँदा गत वर्ष फ्रान्सेली लिग वान च्याम्पियन भएपछि भनेका थिए, ‘आइफिल टावरलाई जाल्टनको प्रतिमाले विस्थापित गरेमात्र पेरिसमा बस्नेछु ।’ उनी बोलेअनुसार गरेरै देखाउँछन् पनि । उनले पेरिस क्लब छाडे ।
जाल्टन पीएसजीबाट ‘समर ट्रान्सफर २०१६’ मा म्यानचेस्टर युनाइटेडमा आबद्ध भए, फ्री ट्रान्सफरमा । उनलाई युनाइटेडले साताको २ लाख ६० हजार पाउन्ड तलब दिने गरेको बताइन्छ । ३५ वर्षे बूढोलाई यति तलब ? धेरै विश्लेषकले प्रश्न तेस्र्याएका थिए । उनको स्थानान्तरण युनाइटेडलाई महँगो सावित हुने अनुमान गरिएको थियो । त्यसको मतलव उनी प्रिमियर लिगमा फ्लप हुने अनुमान ।

अरू लिगको तुलनामा इंग्लिस प्रिमियर लिग शारीरिक खेल पनि हो । त्यसैले बूढा जाल्टनले के नै गर्लान् भन्ने थियो । तर, उनले सिजनको पहिलो खेलमै युनाइटेडलाई सफलता दिलाएका थिए । उनले अन्त्यतिर निर्णायक गोल गरेपछि युनाइटेडले लिग च्याम्पियन लेस्टरलाई हराएर कम्युनिटी शिल्ड जितेको थियो । तैपनि उनीप्रति तलबअनुसार प्रदर्शन गर्नेमा शंका गरिएको थियो ।

जब प्रिमियर लिग सुरु भयो तब जाल्टनले एकपछि अर्को गर्दै गोल गर्न थाले । गोल नगरेको खेलमा पनि युनाइटेडको मुख्य खेलाडी यिनै बूढा बाघ बन्न थाले । युनाइटेडका कप्तान वायनी रोनी रेड डेभिल्सका कीर्तिमान गोलकर्ता पनि हुन् । तर जाल्टनभन्दा चार वर्ष कान्छो रोनी आइतबार बेम्बलीमा भएको लिग कपको फाइनलमा बेन्चमा थिए । मैदानभित्रका मुख्य पात्र उनै बूढा जाल्टन । आखिर हिरो पनि जाल्टन नै भए ।
आर्सनल, लिभरपुललाई पन्छाउँदै फाइनल पुगेको जायन्ट किलर साउथह्याम्पटनसँग जाल्टनले सुरुमा फ्रि–किकमा शानदार गोल गरे । अनि ८७ औं मिनेटमा निर्णायक हेडर गोल, जसले युनाइेटडलाई ४१ औं उपाधि दिलायो । फाइनलमा कमेन्टेटरले जाल्टनलाई ‘थर्टी फाइभ इयर्स योङ’ बारम्बार भनिरहेका थिए । उनको करिअरको ग्राफ पनि उस्तै छ । जति बूढो हुँदै गयो उति नै उत्कृष्ट खेल । उनले यो सिजन ३८ खेलमा २६ गोल गरिसकेका छन् । यो उमेरमा यति खेल खेल्ने र गोल गर्ने फुटबलमा विरलै हुने गर्छ ।

उनी लगातार छैटौं सिजन ३० गोल बढी गर्ने अवस्थामा पुगेका छन् । उनले ३० वर्ष लागेपछि ३ सय २ खेलमा २ सय ४८ गोल गरेका छन् । जबकि ३० वर्ष लाग्नुअघि ५ सय २९ खेलमा २ सय ३२ गोल मात्र गरेका थिए । त्यसैले उनका लागि उमेर छिप्पिँदै जानु ‘पुरानो वाइन’ जस्तै भएको छ । बढी उमेरले अझ परिपक्व बनाएको उनी बताउने गर्छन् । उनी तेक्वान्दोका ब्ल्याकबेल्ट पनि हुन् । यसले पनि उनको गोल गर्ने कलामा सहयोग गरेको विश्वास गरिन्छ । उनका गोल पनि निकै आकर्षक हुने गर्छ ।

जीवन सुन्दर तरिकाले जिउनुपर्छ भन्ने उनले लिग कप जितेपछि मिडियामा भनेका थिए, ‘जित्नका लागि आएको थिएँ । जितिरहने छु । मैले जे गरें, त्यसमा कहिल्यै सन्तुष्ट हुन्न । सधैं बढी चाहन्छु । त्यसका लागि भोको छु । यो नै मेरो मानसिकता हो ।’उनले पहिलो ट्रफी डच लिग २००१/०२ मा आयक्सबाट हात पारेका थिए । त्यसयता उनले प्रत्येक सिजन उपाधि जित्दै आएका छन् । आयक्समा चार उपाधि जितेपछि इटालियन महारथी युभेन्ट्स पुगेका उनले त्यहाँ पनि दुईपल्ट सिरी ‘ए’ च्याम्पियन भए । तर, म्याच फिक्सिङ काण्डपछि युभेन्ट्सका ती दुवै उपाधि खोसियो । त्यसलाई छाडेर लिग कप उनको ३० औं उपाधि हो । उनले इन्टरमिलानमा तीन लिगसहित पाँच उपाधि हात पारे । पेप ग्वार्डिओलाको टिममा खासै जम्न नसके पनि बार्सिलोनामा पाँच ट्रफी हात पारेपछि उनी फेरि इटालियन क्लब एसी मिलान पुगेका थिए । मिलानमा लिगसहित दुई उपाधि जितेर उनी पीएसजी (पेरिस सेन्ट जर्मेन) पुगे । गोलको कीर्तिमान कायम गर्दै उनले पीएसजीलाई दर्जन उपाधि दिलाए । त्यसपछि उनी म्यानचेस्टर लागेका हुन् ।

जे गर्दै छौ, त्यो ढुक्क भएर गर्नुपर्छ भन्ने उनलाई ओल्ड ट्राफोर्ड भित्र्याउने काम जोसे मोउरिन्होले गरेका हुन् । उनी यी पोर्चुगिज प्रशिक्षकलाई विश्वास गर्छन् र मोउरिन्हो स्वीडिस फरवार्डमा भर पर्छन् । यी दुई सन् २००८–०९ मा इन्टरमिलानमा पनि सँगै थिए । ‘म उनलाई विश्वास गर्छु । उनी
आफ्नो क्षमताप्रति विश्वस्त छैनन् भने ३५ वर्षको उमेरमा प्रिमियर लिगमा आउनु मूर्खता हो,’ उनलाई ओल्ड ट्राफोर्ड भित्र्याउने बेला मोउरिन्होले भनेका थिए । मोउरिन्होले नै डिडियर ड्रोग्बालाई पनि बूढो उमेरमै दोस्रोपल्ट चेल्सीमा अनुबन्ध गरेका थिए । त्यसमा पनि उनी सफल भएका थिए ।

६ फिट ५ इन्चका जाल्टन एक वर्ष करार लम्ब्याउन सक्ने विकल्पसहित युनाइटेडमा आबद्ध भएका थिए । उनी अर्को सिजन पनि ओल्ड ट्राफोर्ड बस्ने निश्चित छैन तर जोसे भने उनी बस्नेमा ढुक्क छन् । तर, युनाइटेडको अर्को सिजन बस्नुपर्ने प्रस्तावमा पनि जाल्टनले हस्ताक्षर गरेका छैनन् । उनले चिनियाँ क्लबको साताको १० लाख पाउन्ड दिने प्रस्ताव अस्वीकार गरेको खबर आएको छ । उनका एजेन्ट मिनो रायोला विश्व फुटबलमा निकै शक्तिशाली छन् । उनले पनि जाल्टनको भविष्यबारे मुख खोलेका छैनन् ।

नेदरल्यान्ड्स, इटाली, स्पेन र फ्रान्सको सफलतापछि जाल्टनले पनि अर्को देश जान चाहेका छैनन् । उनी अर्को म्यानेजर पनि चाहन्नन् । एलेक्स फर्गुसनको युगपछि फेरि युनाइटेड समर्थकमाझ राम्रो दिन फर्काउने आस देखाएका जाल्टनसामु अझ ठूलो चुनौती छ । प्रिमियर लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा फर्कनु युनाइटेडको मुख्य योजना हो । युनाइटेडसँग एफए कप र युरोपा लिगको व्यस्त तालिका पनि छ । यसैमा जाल्टन र युनाइटेडको भविष्य पनि निर्भर छ ।