शिक्षा
बहसमा प्राविधिक शिक्षा
काभ्रे– शिक्षा ऐनअनुसार कक्षा १ देखि १२ सम्म विद्यालय तह हो । कक्षा १–८ लाई आधारभूत र ९–१२ माध्यमिक तह कायम गरिएको छ । माध्यमिक तहलाई साधारण र प्राविधिक गरी दुई धारमा बाँडिएको छ । प्राविधिक शिक्षालाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा यतिखेर काभ्रेको धुलिखेलमा राष्ट्रिय व्यावसायिक योग्यता प्रारुपबारे कार्यशाला भइरहेको छ । कार्यशालामा एसिया प्यासिफिक क्षेत्रका १६ मुलुकका उच्च अधिकारी र विशेषज्ञहरू सहभागी छन् । तिनीहरूका अनुभव र सुझावका आधारमा नेपालको राष्ट्रिय व्यावसायिक योग्यता निर्धारण संरचना (एनभीक्युएफ) विकास गरिनेछ । विज्ञले कार्यपत्रमार्फत आफ्नो मुलुकमा प्राविधिक तथा व्यावसायिक शिक्षामा भए/गरेका अनुभव आदानप्रदान गरिरहेका छन् । प्रस्तुत छ, बहसको उपादेयताबारे सहभागी केही विज्ञसित गरिएको कुराकानीको सम्पादित अंश :
विदेशी सुझाव मनन गर्छौं
डा. रामहरि लामिछाने
महानिर्देशक, कोलम्बो प्लान स्टाफ कलेज, फिलिपिन्स
राष्ट्रिय योग्यता प्रारुप कस्तो बनाउने भन्नेबारे अहिले हामी छलफल गरिरहेका छौँ । २० देशमा कस्तो खालको प्रणाली छ भन्ने कुरामा नै छलफल केन्द्रित छ । अधिकांश देशमा १ देखि ८ तहको संरचना रहेको पायौँ । स्कटल्यान्डमा भने १२ तहसम्मको प्राविधिक शिक्षा रहेछ । संरचना करिब करिब मिल्दो छ । हुबहु कसैको संरचना अनुसरण गर्ने नभई त्यहाँको अनुभवको आधारमा हाम्रो सन्दर्भ, परिवेश सुहाउँदो प्रणालीलाई हाम्रो ढाँचामा ढाल्ने हो । हामीले अहिले गरेको मस्यौदामा पनि ८ तह हुने उल्लेख छ । तहका सन्दर्भमा हाम्रो पनि अरू देशसँग समानता छ । तहअनुसारको दक्षता हासिल गर्न ज्ञान, सीप र क्षमताबारे जानकारी लिएर नेपालको ढाँचालाई परिमार्जन गर्छौँ । यो कार्यशाला निकै उपलब्धिमूलक भएको छ । हामीले तयार गरेको मस्यौदामा साधारण शिक्षाबाट प्राविधिक शिक्षामा जान पाउने र प्राविधिक शिक्षाबाट साधारण शिक्षामा जान पाउने प्रस्ताव गरेका छौँ । समकक्षता निर्धारण गर्ने व्यवस्था गरेका छौँ, जसले जुन विषय पढे पनि योग्यता निर्धारण संरचनाले एकै खालको प्रमाणपत्र दिन सक्नेछ ।

अन्तर्राष्ट्रिय श्रमको सम्भावना खोल्छ
रिनातो एम सोरोलिया
कार्लोस हिलादो मेमोरियल स्टेट कलेज, फिलिपिन्स
नेपालको राष्ट्रिय योग्यता प्रारुपबारे छलफल गर्न यहाँ आउन पाउँदा खुसी लागेको छ । फिलिपिन्स र नेपालले एकै प्रकारको तहको अभ्यास गरिरहेका छन् । प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा भने हामी अघि बढिसकेका छौँ । नेपालले पनि स्विस सरकारको सहयोगमा यो क्षेत्रमा काम गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ । यसले नेपालको व्यावसायिक तथा प्राविधिक शिक्षालाई अघि बढाउन मद्दत गर्छ । भविष्यमा निकै अवसरहरू जुटाउनका लागि यो एकदमै सान्दर्भिक कार्यक्रम हो । स्थानीय उद्योगहरूको विकास, कामदारको व्यवस्था र अन्तर्राष्ट्रिय श्रमको सम्भावना पनि यसले खोल्छ । कोलम्बो प्लानले नेपालमा आयोजना गरेको यो कार्यक्रमले नेपालबारे जान्ने अवसर मिलेको छ । हाम्रो देशमा ८ तहको संरचना छ । हामीले दक्षिणपूर्वी एसियाली मुलुकसँग मिल्ने खालको प्रारुप निर्धारण गरेका छौँ । जसको कारण हाम्रा जनशक्तिले जुनसुकै मुलुकमा सजिलै काम पाउन सकून् भन्ने हो ।

फड्को मार्ने अवसर
खेम लकाई
प्रमुख, ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी
यो कार्यशाला नेपालको व्यावसायिक तथा प्राविधिक शिक्षा क्षेत्रलाई अघि बढाउने सुनौलो अवसर हो । विशेषज्ञले अन्तर्राष्ट्रिय अभ्यासबारे पर्याप्त सुझावहरू दिएका छन् । विकसित देशमा प्राविधिक शिक्षा अनिवार्यजस्तै छ । नेपालको सन्दर्भमा युवाका भविष्य निर्धारण गर्ने प्राविधिक शिक्षाले नै हो । विज्ञकै भनाइमा आर्थिक विकासको क्षेत्रमा चमत्कार देखाउन सकिनेछ । सरकारले प्राविधिक शिक्षालाई बढी प्राथमिकता दिनु आजको आवश्यकता हो । यसो हुन सके अबको दस वर्षमा प्राविधिक शिक्षाले फड्को मार्नेछ ।

लागू गर्न तयार छौं
रमेशकुमार बखती
कार्यवाहक सदस्यसचिव, सीटीईभीटी
राष्ट्रिय सीप परीक्षण समितिमार्फत हामीले सीप परीक्षण गर्दै आएका थियौँ । तर त्यसबाट वितरण गरेका प्रमाणपत्रले नेपालमै मान्यता पाउन समस्या छ । लोक सेवा आयोग, उद्योग आदिमा पनि एक खालका अन्योल छ । त्यसकै लागि एउटा राष्ट्रिय योग्यता प्रारुप तयार गर्न लागेका हौँ । एसिया प्यासिफिक क्षेत्रमा भएको अभ्यासबारे जानकारी लियौं । सीपका साथसाथै प्रमाणपत्रको मान्यताका लागि पनि आवश्यक छ भन्ने बुझाइका आधारमा पनि यो कार्यक्रम गरिएको हो । यसो हुँदा साधारण शिक्षा र प्राविधिक शिक्षाबाट एक अर्कोमा जान सकिने आधार तय हुन्छ । साधारण शिक्षाले रोजगारी पाइएन, अब प्राविधिक शिक्षा लिएर व्यावसायिक बन्ने आवश्यकता महसुस भएको सन्दर्भमा एउटा प्रारुप तयार पारेर हामी त्यसलाई लागू गर्न तयार छौँ । हामीले ८ तहको प्रस्ताव गरेका छौँ । यसलाई सरोकार निकायहरूसँग छलफल गरेर अन्तिम रूप दिनेछौँ । सन् २०१९ मा प्रारुप तयार भएर २०२५ मा ऐन ल्याएर प्राधिकरणको रूपमा विकास गरिनेछ ।

अधिकार सम्पन्न प्राधिकरण
जगत् एस
सीप विकास तथा व्यावसायिक तालिम मन्त्रालय, श्रीलंका
श्रीलंकाको सन्दर्भमा यसको लामो इतिहास छैन । यो प्रणाली सुरु गर्न लामो समय लाग्यो । मेरो देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा आयोगले यो सञ्चालन गर्छ । आयोगमार्फत संस्था दर्ता, योजना निर्माण, नीति निर्माणलगायतका काम हुन्छ । निश्चित मापदण्डका आधारमा मात्रै प्रमाणपत्र दिइन्छ । त्यसपछि मात्रै त्यस्ता तालिम सञ्चालन गर्न पाइन्छ । नेपाल पनि प्रारुप विकास गर्ने चरणमा छ । मेरो सुझाव के हो भनेर नेपालले यसका लागि धेरै निकाय नबनाईकन एउटा अधिकार सम्पन्न प्राधिकरण बनाउनुपर्छ । दर्ता, नीति निर्माण, अनुगमनलगायतका काम एउटै निकायबाट हुनुपर्छ । अन्यथा समस्या आउन सक्छ । श्रीलंका पनि ८ तहको संरचना छ । संरचना प्रमुख कुरा हैन, प्राधिकरणलाई सरकारले निर्देशन गर्नुपर्छ ।

देशअनुसारको प्रारुप
डा. ज्यानेट ब्राउन
स्कटल्यान्ड
विगत १५ वर्षदेखि हाम्रोमा राष्ट्रिय योग्यता प्रारुप छ । व्यवसायी, सरकार, विद्यार्थीलाई समेत कसरी ज्ञान, सीप हासिल गर्ने, रोजगारलगायतका विषयमा जानकारी पाउन यो निकै उपयोगी छ । यसको स्कटल्यान्डमा पाएको ज्ञान र सीपलाई अरू देशसँग तुलना गर्छ । नेपालको यो चाहना हुन सक्छ कि आफूले प्राप्त गरेको ज्ञान र सीप विभिन्न उद्योग र अरू राष्ट्रमा समेत उपयोगी हुनुपर्छ । स्कटल्यान्डमा हामी १२ तहको संरचनाको अभ्यास गरिरहेका छौँ । नेपालको सन्दर्भमा त्यो फरक हुन सक्छ । नेपालले प्रस्ताव गरेको ८ तह उपयुक्त हुन सक्छ । त्यो देशको आवश्कताअनुसार निर्धारण हुने कुरा हो ।

कार्यान्वयनमा जानुपर्छ
वाल्टर हन
प्राविधिक तथा व्यावसायिक तालिम विशेषज्ञ, स्विटजरल्यान्ड
सम्बोधन हुनुपर्ने धेरै खालका विषयवस्तु छन् । पहिलो कुरा निजी क्षेत्रलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रको समग्र विकासका लागि बढी संलग्न गराइनुपर्छ । तालिमका विषयवस्तु निर्धारण गर्न निजी क्षेत्रको भूमिका हुनुपर्छ । गुणस्तर निर्धारण लगायतका कुराहरू सरकारी निकायबाट हुनुपर्छ । नेपालले ८ तहको संरचनाको खाका तयार पारेकाले अब त्यसको कार्यान्वयनमा जानुपर्छ । नेपाल सुहाउँदो प्रारुपको अनुसरण अरुबाट गर्नुपर्छ ।

प्रस्तुति : नगेन्द्र अधिकारी
शिक्षा
निजी विद्यालय छाडेर सामुदायिक
- अमृता अनमोल
बुटवल– बजार क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा छात्रछात्राको संख्या कम छ । संख्या नपुग्दा केही विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । तर बुटवलस्थित केही विद्यालयमा भने निजी छाडेर भर्ना हुन आउनेको लर्को छ । पहाडी जिल्लाबाट छोराछोरी पढाउन यहाँ झर्नेले पनि सामुदायिक रोज्ने गरेका छन् । यहाँ पढ्न चाहने धेरै विद्यार्थीले अवसर पाएका छैनन् । विद्यालयले प्रवेश परीक्षा लिन्छन् । पटकपटक यस्तो परीक्षा दिँदासमेत नाम ननिस्केपछि यहाँ आएका विद्यार्थी पुन: निजीमा फर्किन बाध्य छन् ।
बुटवलको कालिका मावि एउटा उदाहरण हो । यहाँ अहिले २ हजार १ सय ९२ विद्यार्थी छन् । एउटै कक्षामा ८ वटासम्म सेक्सन छन् । कक्षा ४ सम्म अंग्रेजी भाषामा मात्रै पढाइ हुन्छ । त्यसमाथिका कक्षामा दुवै भाषाबाट पढाइ हुन्छ । कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङको पढाइ हुन्छ । प्रधानाध्यापक घनश्याम पाठकका अनुसार विद्यालयको भौतिक संरचना र मानवीय शक्तिले त्यसभन्दा बढी विद्यार्थी थेग्न सक्दैन । यसैले पढ्न चाहने धेरैलाई भर्ना नलिँदा पनि संख्या उल्लेख्य छ । ‘नेपाली माध्यममा १ हजार ५ सयले प्रवेश परीक्षा दिएकामा ५ सय १ ले भर्ना हुन पाए,’ उनले भने, ‘अंग्रेजी माध्यममा २ सय ८१ मध्ये १ सय ९० राख्यौं ।’
विद्यालयको भौतिक संरचना र मानवीय शक्तिले त्यसभन्दा बढी थेग्न नसकेकाले यसो गरिएको हो । पाठकका अनुसार, यो वर्ष नाम ननिस्केकाहरू आगामी वर्षको तयारीमा छन् ।
आगामी वर्षका लागि कहिले प्रवेश परीक्षा हुन्छ भनेर सोध्न आउनेको ताँती छ । स्थानीय कान्ति माविमा १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । कक्षा ५ सम्म अंग्रेजी माध्यममा मात्रै पढाइ हुने विद्यालयमा त्यसमाथि दुवै भाषामा पढाइ हुन्छ । त्यहाँ पढ्न चाहनेको लर्को छ । ‘गत वर्ष ५ सयभन्दा बढी विद्यार्थी फर्कायौं,’ प्रधानाध्यापक गोविन्द ज्ञवालीले भने, ‘आगामी वर्षका लागि सोध्न आउनेको लाइन लाग्न थालिसकेको छ ।’
यता, अधिकांश सुकुम्वासी अभिभावकका छोराछोरी रहेको कद्दरबहादुर रिता नवीन औद्योगिक माविमा १ हजार ४ सय विद्यार्थी छन् । कक्षा १० मा एउटा सेक्सनबाहेक सबै कक्षामा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । कक्षा ९ देखि माथि सिभिल इन्जिनियरिङसमेत पढाइ हुन्छ । गत वर्ष विद्यालयमा पढ्न चाहने ४ सयभन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सफल भएनन् । व्यवस्थापन समस्याले सबैलाई भर्ना लिन नसकेको प्रधानाध्यापक प्रेम बस्नेतले बताए ।
निजी स्तरका नाम चलेका विद्यालयले मात्रै लिने गरेको प्रवेश परीक्षा लिने तरिकालाई पछिल्लो समयमा सामुदायिक विद्यालयले अपनाएका छन् । ‘सबैलाई भर्ना लिने अवस्था छैन,’ उनले भने, ‘त्यसैले हाम्रा हैन, राम्रा विद्यार्थी लिन थालेका हौं ।’ सामुदायिकमा माथिल्लो कक्षामा अधिकांश निजी विद्यालय छोडेर आउने छन् । यहाँ अहिले अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, स्याड्जा, दाङलगायतका जिल्लाबाट आएका विद्यार्थी उल्लेख्य छन् । निजीमा महँगो शुल्क तिरेर पढाउन नसक्ने अभिभावकको बाध्यताका कारण सामुदायिकमा पढ्न आउँछन् । विद्यालय तह नि:शुल्क पढ्ने र उच्च शिक्षामा छात्रवृत्तिमा लड्न पाउने उनीहरूको चाहना हुन्छ ।
सामुदायिक विद्यालयमा सानो तहदेखि पढ्ने विद्यार्थी प्राय: विपन्न परिवारका हुन् । बुटवलमा धेरै जनसंख्या सुकुम्वासी र मौसमी कामदारको छ । यहाँका सामुदायिक विद्यालयमा पनि तिनै विद्यार्थी बढी छन् । यस्ता कतिपय बालबालिका बाबुआमाले कापी, मसीलगायतका शैक्षिक सामग्री सकिएको हप्ता दिनसम्म नयाँ किनिदिन्नन् । बेलामा खाना खान नपाउँदा भोकै स्कुल आउँछन् । दिउँसो खाजा खाने पैसा हुँदैन । कद्दरबहादुर रिता माविमा पढ्न आउने ६५ प्रतिशत बालबालिका सुकुम्वासी अभिभावकका छोराछोरी छन् । कालिका मावि र कान्ति माविमा पढ्ने ४० प्रतिशत विद्यार्थी पनि त्यस्तै छन् । उच्च तहको व्यक्ति बन्न र एसएलसीपछि महँगो विषय पढ्ने इच्छा भएका विद्यार्थी पढाइमा अगाडि छन् ।
कालिका माविका शिक्षक पाठकले भने, ‘अभिभावकले खर्च गर्न नसक्ने बुझेपछि छात्रवृत्तिकै लागि मिहिनेत गरेर पढेका विद्यार्थीले एसएलसीमा राम्रो नतिजा ल्याएका धेरै छन् ।’
रुपन्देहीमा ३ सय ६४ सामुदायिक विद्यालय छन् । यसमध्ये १ सय ४२ मावि, ९४ निमावि र १ सय २८ प्रावि हुन् । यसमध्ये १५ वटा मावि देशमै उत्कृष्ट सामुदायिक विद्यालयमा पर्छन् । अन्य कक्षाको शैक्षिक उपलब्धि र एसएलसीको नतिजामा उत्कृष्टता हासिल गरेका छन् । जिल्ला शिक्षा कार्यालयको मापनअनुसार ती बुटवलको कालिका, कान्ति, नवीन औद्योगिक कद्दरबहादुर रिता, मणिग्रामको शान्ति नमुना, गजेडीको प्रगति, लुम्बिनीको तेनुहवा, सैनामैनाको जनकल्याण माविलगायत हुन् । ‘नतिजा, शैक्षिक वातावरण, व्यवस्थापन र पूर्वाधार सबैमा टप छन्,’ जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले भने, ‘जिल्ला स्तरदेखि एसएलसी परीक्षासम्ममा निजीलाई उछिनेका छन् ।’ विद्यार्थीको मिहिनेत, शिक्षकहरूको लगाव, अभिभावकको जिम्मेवारी, विद्यालयको सबल व्यवस्थापनका कारण सामुदायिक विद्यालय उत्कृष्ट बनेका हुन् । यसले निजी विद्यालयमा आवासीय रूपमा पढ्ने विद्यार्थीबीच आफ्ना विद्यालाई प्रतिस्पर्धामा उतार्न सम्भव भएको हो । शान्ति नमुना मावि, मणिग्रामका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले भने, ‘अनुशासन, जिम्मेवारी र विद्यार्थी, शिक्षक र अभिभावकबीच पढाइ सुधार्ने तरिकाबारेको सहकार्यले शिक्षामा फडको मार्न सकेका हौं ।’
शिक्षा
विद्यालय निरीक्षकको ठाडो हस्तक्षेप शिक्षक परीक्षा स्थगित
- माधव अर्याल
पाल्पा– फागुन १७ गते तानसेनस्थित मोहनकन्या माविमा प्रावि र मावि तह शिक्षकको परीक्षा स्थगित भयो । कारण थियो, विद्यालयका प्रधानाध्यापकले विषय विशेषज्ञको नाम शिक्षा कार्यालयमा दिन नमान्नु । विद्यालय निरीक्षक गिरिराज पाण्डेयले आफ्नी श्रीमतीको नाम निकाल्ने खेल पूरा नभएपछि शिक्षा अधिकारी संगीता रेग्मीलाई दबाब दिएर परीक्षा नै स्थगित गराए ।
सरकारले स्थानीय निर्वाचनका लागि १८ गतेदेखि आचारसंहिता लागू गरेकाले पुन: परीक्षा हुन नसक्दा विद्यार्थीले शिक्षक पाएनन् । उक्त विज्ञापनमा प्राथमिक तहमा करार शिक्षककी उम्मेदवार गीता भण्डारीले विद्यालयका प्राचार्य दीपक ज्ञवालीले आफ्नी श्रीमतीको नाम निकाल्न खोजेको भन्दै उजुरी दिएपछि जिशिअ संगीता रेग्मीले परीक्षा स्थगित गराएकी हुन् । उजुरीकर्ता भण्डारी विद्यालय निरीक्षक गिरिराज पाण्डेयकी श्रीमती हुन् । उनीसमेत सोही पदमा आवेदक छिन् ।
‘विद्यालय निरीक्षकले आफ्नी श्रीमतीलाई राख्न नपाएपछि स्थगितका लागि उजुरी हालेका हुन्,’ एक परीक्षार्थीले भने । यो त हस्तक्षेपको एउटा उदाहरण मात्रै हो । पछिल्लो समय विद्यालयमा शिक्षक नियुक्ति गर्दा विद्यालय निरीक्षकको ठाडो हस्तक्षेप हुने गरेको छ । उनीहरूले चाहेको शिक्षक राख्न नपाउने हो भने परीक्षा नै सञ्चालन नहुने, स्थगित गर्नेजस्ता कार्य हुने गर्ने गरेका छन् ।
शिक्षक नियुक्ति, भर्ना, सरुवामा विद्यालय निरीक्षकको आर्थिक चलखेलसमेत हुने गरेको छ । ‘अति नै हुन थालेको छ,’ गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष भेषराज तिमिल्सेनाले सार्वजनिक समारोहमै भने, ‘प्रश्नपत्र आउट गर्नेदेखि लिएर पैसाको चलखेलसम्म विद्यालय निरीक्षकबाट हुने गरेको छ ।’
उनका अनुसार शिक्षाको गुणस्तर बिग्रँनमा विद्यालय निरीक्षक दोषी छन् । एउटा विद्यालयमा दुई महिनाभन्दा बढी नपढाउने रोग अझै बढेको छ । गाउँमा विद्यालयका निरीक्षक, कर्मचारीका नाता आफन्त भर्ना हुन्छन् अनि पायक पर्ने स्थानमा सरुवा गर्छन् ।
यसअघि भएका जिल्लाका धेरै विद्यालयका परीक्षा विद्यालय निरीक्षकका कारण विवादित बनेका छन् । विद्यालय निरीक्षकले चाहेको कुरा विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिले काट्न नसक्दा समस्या झन् थपिँदै गएको हो । राजनीतिक दलकै नेताहरूले विद्यालय निरीक्षकहरू पैसाको चलखेलमा लाग्दा ‘राम्राभन्दा हाम्रा’ शिक्षक नियुक्ति हुने गरेको आरोप लगाए । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्रप्रसाद पाण्डेयले विद्यालय निरीक्षकहरूले गरेका कर्तुतका विषयमा आफूहरूलाई प्रशस्त गुनासा आएको बताए । ‘लाखौंको चलखेलसमेत भएको हामीलाई गुनासा आएका छन्,’ उनले भने ।
कांग्रेस र एमालेबाहेक अन्य राजनीतिक दलले शिक्षा कार्यालयलमा राजनीतिक दबाब नदिएको स्पष्टीकरणसमेत दिए । ‘हामीले कहिल्यै पनि
दबाब दिन गएका छैनौं,’ राप्रपा अध्यक्ष डुलबहादुर कुँवरले भने ।
शिक्षा अधिकारी संगीता रेग्मीले भने विद्यालय निरीक्षकको नभई राजनीतिक दलको दबाबका कारण काम गर्न अप्ठेरो परेको बताउने गरेकी छन् । उनले विद्यालय निरीक्षकले दबाब दिएरभन्दा पनि शिक्षकले राजनीति गरेका कारण सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कँदै गएको बताइन् । उनले दलको संरक्षणमा राजनीति गर्ने शिक्षकका कारण शिक्षाको गुणस्तर माथि उकासिन नसकेको बताइन् । राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, शिक्षा समितिका अध्यक्ष, सञ्चारकर्मी, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा उनले शिक्षकलाई राजनीति नगरी पढाउन तल्लीन हुन निर्देशन दिइन् । उनका अनुसार शिक्षाको गुणस्तर बढ्नेभन्दा झन् खस्किँदै गएको छ । उनले सिकाइ उपलब्धि ५० प्रतिशत नघाउन नसकेको बताइन् । अझै पनि शून्य दशमलव ५ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । जिल्लाको औसत सिकाइ उपलब्धि माध्यमिक तहको ४५ प्रतिशत छ । आधारभूत कक्षा ६ देखि ८ सम्मको ५२ र प्राथमिक तहमा ५५ रहेको शिक्षाका सूचना अधिकारी महेन्द्र सुवेदीले बताए । माध्यमिक तहमा अंग्रेजीको ४८, गणितको ३३ र सामाजिकको ४१ प्रतिशत सिकाइ उपलब्धि छ ।
‘विद्यालय समयमा राजनीति गर्ने होइन, पढाएर शिक्षाको गुणस्तर माथि उकास्नेतर्फ ध्यान दिनुस्,’ उनले भनिन् । आफूले राम्रो काम गरेको तर राजनीतिक दलको हस्तक्षेपका कारण काम गर्न समस्या हुने गरेको उनले दु:खेसो पोखिन् । ‘राजनीतिक दलको तानातानका कारण विवाद उत्पन्न हुने गरेको र त्यसलाई मिलाएर अघि बढाउन शिक्षा अधिकारीले मात्र सकिँदैन,’ उनले भनिन् । उनले एउटै पार्टीका दुई पक्षीय दबाब सहनुपर्ने भएकाले झनै समस्या आउने गरेको गुनासो गरिन् । उनले शिक्षा ऐनको दफा १६ (ङ) मा राजनीतिक दलको कार्यकारिणी सदस्य भएमा शिक्षक पदबाट हटाउने प्रावधान छ । यस्ता विषयमा धेरैपटक निर्देशन जारी पनि शिक्षाले गरिसकेको छ ।
सोही कार्यक्रममा उपस्थित कांग्रेस जिल्ला सभापति वीरबहादुर रानाले राष्ट्रसेवक कर्मचारीले पहिला आफूलाई चिन्नुपर्ने र सोहीअनुसार दायित्व निर्वाह गर्नुपर्ने बताए । एमाले नेता धनेन्द्रराज घिमिरेले शिक्षा अधिकारीको भनाइप्रति शिक्षा समितिका अध्यक्षलाई ध्यानाकर्षण गराए । जिल्लाका राजनीतिक दलप्रति लागेको आरोपका विषयमा छलफल हुनुपर्ने उनले बताए ।
शिक्षा
पाठ्यक्रम डिजिटाइज गरिँदै
- कान्तिपुर संवाददाता
काठमाडौं– पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहका सम्पूर्ण पाठ्यक्रम, पाठ्यपुस्तक र सन्दर्भ सामग्रीलाई डिजिटल बनाउने भएको छ । २०२१ देखि हालसम्म प्रकाशित सम्पूर्ण सामग्रीलाई समेटिने केन्द्रका पुस्तकालय अधिकृत अरुणकुमार राईले जनाए । चालू आर्थिक वर्ष २०७३/७४ मा आठ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
२०२८ भदौ ५ गते स्थापित पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण, सन्दर्भ सामग्रीहरूको विकास गर्दै आएको छ । सानोठिमीस्थित केन्द्रको पुस्तकालयमा नेपालको शैक्षिक इतिहासका स्रोत सामग्रीहरू, पाठ्यक्रम बन्नुअघि भए/गरिएका अध्ययन–अनुसन्धानका सामग्रीहरू, स्रोत सन्दर्भ, पाठ्यक्रम, पाठ्यसामग्री, शिक्षक निर्देशिका, बाल सन्दर्भ सामग्री, शिक्षक स्रोत सामग्री रहेका छन् ।
त्यस्तै साधारण शिक्षा, संस्कृत, मातृभाषा, गुरुकुल, गुम्बा, बौद्धिक अपंगता भएकाहरूका निम्ति निर्मित पाठ्यक्रम रहेका छन् । शिक्षा ऐनअनुसार कक्षा १२ सम्म विद्यालय तह भएकाले सबै पाठ्यक्रमलाई डिजिटाइज गरिनेछ । ‘पाठ्यक्रमको इतिहासदेखि वर्तमान अवस्थाबारे अध्ययन अनुसन्धानमा जुटेकाहरूलाई लक्षित गरेर डिजिटाइज गरिएको हो,’ कार्ययोजनाअनुसार काम भइरहेको उल्लेख गर्दै अधिकृत राईले भने, ‘अब संरक्षण मात्र होइन, सबैको पहुँच पुग्ने गरी यी सामग्रीलाई वेबसाइटमा राखिनेछ ।’
पुस्तकालयमा विभिन्न विधाका २० हजार पुस्तक छन् । लेख्य, श्रव्यदृश्यमा उतारिने ती सामग्रीको संरक्षण, संवद्र्धन र वितरण गर्ने लक्ष्य राखिएको छ । ‘पुस्तकालय सूचनाविज्ञानअनुसार डिजिटाइजेसन भइरहेको छ,’ उनले भने, ‘आगामी वैशाखमा पूरा हुनेछ ।’ती सामग्रीलाई केन्द्रको वेबसाइटमा राखिने छ भने डिजिटाइज हरेक सामग्री लेखक वा लेखको शीर्षक वा विषयका आधारमा फेला पार्न सकिने उनले जनाए ।