काठमाडौं– संघीय संरचना, निर्वाचनलगायत विषयमा अन्योल कायमै रहेकाले नयाँ आर्थिक वर्षको बजेट विनियोजन प्रक्रियाको टुंगो उच्च राजनीतिक नेतृत्वले नै गर्नुपर्ने भएको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा जाने बजेट दिने खाकाबारे अन्योल बढेकाले यसको निक्र्योल मुख्य दलका उच्च नेतृत्वले गर्नुपर्ने अवस्था आएको हो । राष्ट्रिय योजना आयोगले बजेट विनियोजनबारे निर्णय गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरिसकेको छ ।
‘हामीले प्रधानमन्त्रीज्यूलाई नै यसबारे निर्णयमा पुग्न सुझाव दिएका छौं,’ बजेटलाई संघीयताअनुरूप पुन:संरचना तथा वित्तीय हस्तान्तरण गर्नेसम्बन्धी मार्गदर्शन गर्न योजना आयोगका सचिवको संयोजकत्वमा बनेको समितिका एक अधिकारीले भने, ‘उहाँले अन्य राजनीतिक दलहरूसँग सल्लाह गरेर निर्णयमा पुग्नुहुनेछ ।’
सरकारका हालका संरचना तथा सरकारी उच्च अधिकारीहरूले यसबारे निर्णय नगरे पनि ७ सय ४४ वटा स्थानीय निकायलाई सर्तसहित वा नि:सर्त बजेट दिने भन्नेबारे निर्णय राजनीतिक नेतृत्वले नै गर्नुपर्ने भएको हो । ‘स्थानीय निकायलाई सोझै एकमुष्ठ बजेट दिने वा निश्चित कार्यक्रम र केही बजेट दिने वा कार्यक्रमहरू तोकेरै पठाउने भन्ने विषयको निर्णय राजनीतिक नेतृत्वले गर्नुपर्नेछ,’ ती अधिकारीले भने, ‘तर, कुन कार्यक्रम कुन संघीय संरचनाअन्तर्गत राख्ने भन्ने निर्धारण समितिले गरिदिइसकेको छ ।’ उक्त निर्धारणअनुसार सम्बन्धित मन्त्रालयहरूलाई मार्गनिर्देशन गइसकेको आयोगले जनाएको छ । ‘कसरी बजेट दिने भन्ने विषय चुनाव हुने नहुने कुराले समेत निर्धारण हुनेछ,’ समितिका ती अधिकारीले भने । संविधानले व्यवस्था गरेको संघ, प्रदेश तथा स्थानीय तहलाई स्रोत हस्तान्तरणको सिफारिस गर्ने ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग’ को गठन नहुँदा बजेट निर्माणमा अन्योल देखिएको हो । आयोग गठन नभएको तर नयाँ संविधानअनुसार स्थानीय तह गठन भइसकेकाले अर्थ मन्त्रालय तथा योजना आयोगलाई कुन मोडालिटीमा बजेट निर्माण गर्ने भन्ने अन्योल भएको छ । यसबारे निर्णयमा पुग्न सजिलो होस् भनी आयोगका सचिव चन्द्र घिमिरेको संयोजकत्वमा मार्गदर्शन समिति बनाइएको हो । सो समितिले कुन तहमा कुन कार्यक्रम रहने भन्ने निर्धारण गरिसकेको छ ।
संघको कार्यक्षेत्रका आयोजना समितिका एक सदस्यका अनुसार राष्ट्रिय महत्त्व/गौरवका आयोजना केन्द्र अर्थात् संघमा रहनेछन् । अन्तरप्रदेश कार्यक्षेत्र भएका कार्यक्रम, अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित कार्यक्रम, विकास साझेदारको सहयोग (ऋण/अनुदान/प्राविधिक सहयोग) मा अन्तर प्रदेश तहमा सञ्चालित आयोजना पनि संघ मातहत रहनेछन् । ‘संघको अधिकार क्षेत्र वा सिमानाभित्र अन्तर प्रदेश तहमा कार्यन्वयन हुने गरी हाल बहुवर्षीय ठेक्कामा सञ्चालनमा रहेका कार्यक्रम, प्रदेश वा स्थानी तहबाट सञ्चालन गर्न सकिनेबाहेक बजेट उपशीर्षक १ देखि ७ सय ९९ र ९०० भन्दा माथिका जिल्लास्तरमा जानेबाहेकका कार्यक्रम संघअन्तर्गत रहनेछन्,’ मार्गनिर्देशनमा भनिएको छ, ‘प्रदेश वा स्थानीय तहबाट सञ्चालन गर्न सकिनेबाहेक संघ वा प्रदेश वा स्थानीय तहले गर्ने भनी स्पष्ट नतोकिएको विषयसम्बन्धी कार्यक्रम र संविधानको अनुसूची ५ को अधिकार सूचीभित्र तोकिएका कार्यक्रम तथा आयोजना संघमा रहनेछन् ।’
संविधानको अनुसूची ५ ले राष्ट्रिय सुरक्षा, हातहतियार, सुरक्षा निकाय, केन्द्रीय योजना तथा बैंक वित्तसम्बन्धी संस्थाहरू, परराष्ट्र तथा कूटनीतिक मामिला तथा अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय सन्धि सम्झौता, दूरसञ्चार क्षेत्र, राजस्व क्षेत्र, निजामती तथा अन्य सेवाहरू, जलस्रोत संरक्षण र बहुआयामिक उपयोगसम्बन्धी नीति र मापदण्ड, अन्तरदेशीय तथा अन्तरप्रदेशीय विद्युत् प्रसारण लाइन, केन्द्रीय तथ्यांकलाई संघको अधिकारभित्र राखेको छ ।
त्यस्तै केन्द्रीयस्तरका ठूला विद्युत्, सिँचाइ र अन्य आयोजना, विश्वविद्यालय, स्वास्थ नीति तथा स्वास्थ्य सेवा, अन्तर्राष्ट्रिय व्यापार, राष्ट्रिय यातायात रेल तथा लोकमार्ग, सर्वोच्च, उच्च र जिल्ला अदालत, नागरिकता, राहदानी, भिसा र अध्यागमन, नापतौल, खानी उत्खनन्, सामाजिक सुरक्षा र गरिबी नियन्त्रण, संवैधानिक निकायहरू पनि संघको कार्यक्षेत्रमा राखिएको छ ।यो कार्यक्षेत्र भएका निकाय तथा कार्यक्रमको पनि संघमै रहने गरी बजेट विनियोजन गर्नुपर्नेछ ।
प्रदेशअन्तर्गतका कार्यक्रम
संघको कार्यक्षेत्रभित्र पर्नेबाहेकका एउटै कार्यक्षेत्र भएका, दुई वा सोभन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएका, क्षेत्रीय वा प्रदेशिक महत्त्वका वा प्रदेश तहले कार्यान्वयन गर्ने प्रकृतिका कर्यक्रमको बजेट प्रदेश सरकारअन्तर्गत रहने मार्गनिर्देशनमा भनिएको छ । ‘प्रदेश अधिकार क्षेत्र वा सिमानाभित्र दुई वा दुईभन्दा बढी स्थानीय तहमा कार्यान्वयन हुने गरी हाल बहुवर्षीय ठेक्कामा सञ्चालनमा रहेका कार्यक्रम, विकास साझेदारको सहयोग, ऋण वा अनुदानमा प्रदेशको अधिकार क्षेत्र वा सिमानाभित्र सीमित भई हाल सञ्चालनमा रहेका र संविधानको अनुसूची ६ को अधिकार सूचीभित्र तोकिएका कार्यक्रम प्रदेश सरकारअन्तर्गत रहनेछन्,’ मार्गनिर्देशनमा भनिएको छ ।
संविधानको अनुसूची ६ ले प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा, राष्ट्र बैंकको नीतिअनुरूप वित्तीय संस्थाहरूको सञ्चालन, सहकारी संस्था, केन्द्रको सहमतिमा वैदेशिक अनुदान र सहयोग, रेडियो, एफएम, टेलिभिजन सञ्चालन, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर, सेवा शुल्क दस्तुर, दण्ड जरिवाना, प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा, प्रदेश तथ्यांक, प्रदेश स्तरको विद्युत्, सिँचाइ र खानेपानी सेवा, परिवहन, प्रदेश विश्वविद्यालय, उच्च शिक्षा, पुस्तकालय, संग्रहालय, स्वास्थ्य सेवा, प्रदेश सभा, प्रदेश मन्त्रिपरिषद्, प्रदेशभित्रको व्यापार, प्रदेश लोकमार्ग, प्रदेश अनुसन्धान ब्युरोलाई प्रदेशको अधिकार क्षेत्रभित्र राखिएको छ । प्रदेश सरकारी कार्यालयहरूको भौतिक व्यवस्थापन र अन्य आवश्यक विषय, प्रदेश लोक सेवा आयोग, भूमि व्यवस्थापन, जग्गाको अभिलेख, खानी अन्वेषण र व्यवस्थापन, भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग, प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन, कृषि तथा पशु विकास, कलकारखाना, औद्योगिकीकरण, व्यापार, व्यवसाय, यातायात, गुठी व्यवस्थापन पनि प्रदेशको अधिकार क्षेत्रभित्र राखिएको छ । यी क्षेत्रको बजेट पनि प्रदेश सरकारलाई विनियोजन हुनेछ । ‘तर, प्रदेशको संरचना बनिनसकेकाले अहिले केन्द्रीय निकायले नै हेर्ने गरी यीसम्बन्धी कार्यक्रम र बजेट तय हुनेछन्,’ समितिका ती अधिकारीले भने ।
स्थानीय तहका कार्यक्रम
स्थानीय तहले तोकेका कार्यक्रमहरू, हालको स्थानीय तहको अधिकार क्षेत्रभित्रका कार्यक्रम, जिल्लास्तरमा सञ्चालनमा रहेका कार्यक्रम, स्थानीय तहको अधिकार क्षेत्रभित्र सीमित हालका बहुवर्षीय ठेक्कामा सञ्चालन भएका कार्यक्रम र संविधानको अनुसूची ८ को अधिकार सूचीभित्र तोकिएका कार्यक्रम र बजेट स्थानीय निकायअन्तर्गत रहनेछन् । अनुसूची ८ अनुसार नगर प्रहरी, सहकारी संस्था, एफएम सञ्चालन, स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घरजग्गा रजिस्ट्ेरसन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन, स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तथ्यांक र अभिलेख संकलन, स्थानीयस्तरका विकास आयोजना तथा परियोजनाहरू, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइ, स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता, स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइलाई स्थानीय तहको कार्यक्षेत्रभित्र राखिएको छ । त्यस्तै गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन, स्थानीय अभिलेख व्यवस्थापन, घरजग्गा धनी पुर्जा वितरण, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन, बेरोजगारको तथ्यांक संकलन, कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण, खानेपानी, साना जलविद्युत् आयोजना, वैकल्पिक ऊर्जा, विपद् व्यवस्थापन, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण, भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकासलाई पनि स्थानीय तहको कार्यक्षेत्र भित्र राखिएको छ ।
‘यी कार्यक्षेत्र भएका कार्यक्रम पनि स्थानीय तहमा जानेछन्,’ आयोगका ती अधिकारीले भने, ‘यो कार्यक्षेत्रभित्र रहेर बजेट निर्माण गर्न सम्बन्धित मन्त्रालयहरूमा मार्गनिर्देशन गइसकेको छ ।’ उक्त मार्गनिर्देशनअनुसार बजेट निर्माणको काम भइरहे पनि बजेट विनियोजनको अवधारणाबारेको टुंगो भने लाग्न बाँकी नै छ । संविधानअनुसार प्रदेश र स्थानीय तहलाई स्रोत हस्तान्तरणको सिफारिस आयोगले गर्नुपर्ने हो । तर, आयोग नै गठन हुन नसकेका कारणले बजेट निर्माणमा केही ढिलाइसमेत भएको छ ।