You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

तयारी पूरा

- राजेश मिश्र
  • मौन अवधि सुरु
  • परिचयपत्र वितरण धमाधम

काठमाडौं– स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु हुन दुई दिन बाँकी रहँदा निर्वाचन आयोगले खटाएका कर्मचारी मतपेटिका लिएर मतदाताको घर नजिक पुगिसकेका छन् । आयोगले खटाएका कर्मचारीले गाउँ पुगेर मतदानस्थलको घेराबेरा, स्थानीयसँग छलफल, मतदाता परिचयपत्र वितरणलगायत काम थालिसकेका छन् । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २ सय ८३ गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन हुँदै छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तह निर्वाचनको सबैखाले तयारी पूरा भइसकेको बताए । परिचयपत्र वितरणको पहिलो दिन बिहीबार कतै ३०, कतै ४०, कतै ६० प्रतिशतसम्म बाँडिसकिएको जानकारी प्राप्त भएको उनले बताए । ‘मतदातामा विशेष उत्साह देखिएको छ, त्यसले मतदान राम्रो हुने संकेत दिएको छ,’ उनले थपे, ‘सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति रहने विश्वस्त तुल्याएको छ । मतदाताले ढुक्क भएर आफूले रोजेको उम्मेदवारलाई मतदान गर्नुहुनेछ ।’ वैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

भोट हाल्न मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । बिहीबार सुरु परिचयपत्र वितरण शनिबारसम्म नै हुने आयोगले जनाएको छ । आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचन आयोग मतदाताको सामीप्यमा पुगिसकेको बताए । उनले कहीँ कतै समस्या भएको सूचना नआएको भन्दै सबै मतदान केन्द्रमा कर्मचारी पुगेर काम थालिसकेको जानकारी दिए । ‘मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षाको काम पनि मतदान केन्द्रबाट भइरहेको छ,’ उनले भने । पहिलो चरणमा काठमाडौं, ललितपुर, भरतपुर, पोखरा–लेखनाथ चारवटै महानगरपालिकामा निर्वाचन हुँदै छ । त्यसबाहेक हेटौंडा उपमहानगरमा पनि वैशाख ३१ मै निर्वाचन हुँदै छ । पहिलो चरणको निर्वाचनमा कुल १३ हजार ५ सय ५६ पदका लागि ४९ हजार ३ सय ३७ जना प्रतिस्पर्धामा छन् । महिला उम्मेदवारको संख्या ३९ दशमलव १८ प्रतिशत छ ।

वैशाख ३१ गतेको निर्वाचनका लागि बिहीबार राति १२ बजेबाट सबै प्रकारको चुनावी प्रचारप्रसारमा रोक लगाइएको छ । आयोगका सचिव मैनालीले निर्वाचन हुने दिनभन्दा ४८ घण्टा पूर्वबाट मौन अवधि सुरु भएकाले प्रचारप्रसार गर्न नपाइने बताए । मौन अवधिमा मतदातालाई कुनै प्रकारले प्रभावित गर्न पाइने छैन । ‘मौन अवधि भनेको मतदाताको समय हो, यस अवधिमा मतदाताले पार्टीहरूका घोषणापत्र, उम्मेदवारका एजेन्डालगायत विषयमा स्वतन्त्र ढंगले अध्ययन गर्न र सोच्न पाउनुपर्छ,’ उनले भने, ‘मतदाताले कुन उम्मेदवार ठीक हो भन्ने पहिचान गरी मतदानका लागि निर्णय गर्ने समय हो ।’ उनले प्रचारप्रसार गरी थाकेका प्रचारक र उम्मेदवारले पनि यस अवधिमा थकाइ मार्नुपर्ने बताए ।

मौन अवधिमा मतदातालाई कुनै किसिमले प्रभाव पार्न, पक्ष वा विपक्षमा कुनै पनि माध्यमबाट मत माग्न पाइने छैन । ‘कुनै प्रकारको सभा, सम्मेलन, गोष्ठी, घरदैलो वा सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्न पाइँदैन,’ उनले भने, ‘दोषी ठहर भए एक लाख रुपैयाँ जरिवाना वा उम्मेदवारी खारेजीसम्मको सजाय भोग्नुपर्ने हुन्छ ।’ सल्यानको कुमाखमालिका गाउँपालिकाको वडा नम्बर १, चितवनको कालिका नगरपालिका वडा नम्बर ११ र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको वडा नम्बर १२ को मतदान भने सरेको छ ।

ती तीनवटै वडाका एक/एक जना वडा सदस्यका उम्मेदवारको निधन भएकाले निर्वाचन कार्यतालिका सारिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । सल्यानमा नेपाली कांग्रेसका वडा सदस्य उम्मेदवार दले राना, चितवनमा माओवादी केन्द्रका उम्मेदवार सिफल चेपाङ र धुलिखेलमा राप्रपाका उम्मेदवार सुकलाल तामाङको निधन भएको हो ।

निर्वाचन सञ्चालन शाखाका प्रमुख देशबन्धु अधिकारीले उम्मेदवारको निधन भएका वडामा सम्बन्धित दललाई उम्मेदवारी दर्ताको समय दिएर निर्वाचनको नयाँ कार्यक्रम तय गरिएको बताए । त्यसअनुसार सल्यानको कुमाखमालिका गाउँपालिकाको वडा नम्बर १, चितवनको कालिका नगरपालिका वडा नम्बर ११ मा जेठ २ गते र धुलिखेल नगरपालिकाको वडा नम्बर १२ मा जेठ ३ गते निर्वाचन हुनेछ । यसअघि डोल्पाको शेफोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पद निर्विरोध निर्वाचित भइसकेका छन् । विभिन्न पदमा गरी कुल ३ सय २९ जना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ ।

गृह पृष्ठ

८६ करोड बढी तिरिँदै

एलईडी खरिद प्रकरण
- बलराम बानियाँ,कृष्ण आचार्य
  • मन्त्रिपरिषद्को निर्णयअगावै खरिद सम्झौता
  • खरिद/बिक्रीबारे द्विदेशीय निर्णय भएको थिएन

काठमाडौं– सार्वजनिक खरिद ऐन छल्दै मन्त्रिपरिषद्बाटनिर्णय गराई भारतीय कम्पनीबाट एलईडी बल्ब खरिद गर्दा बजार म्ूल्यभन्दा ८६ करोड ४० लाख रुपैयाँ बढी रकम भुक्तानी दिनुपर्ने भएको छ।भारत सरकारका आधिकारिक दस्ताबेज, खरिद गर्ने भनिएको भारतीय कम्पनी इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेड (ईईएसएल) को वेबसाइटमा राखिएको म्ूल्य स्ूची र त्यसमा नेपाल/भारतको कर महसुलको व्यवस्थाको हिसाबअनुसार खरिद म्ूल्यको करिब ४३ प्रतिशत रकम बढी तिर्नुपर्ने देखिन्छ ।

कसरी बढी मूल्य ?
सरकारले भारतीय कम्पनी ‘ईईएसएल’ बाट २ करोड थान एलईडी बल्ब भारु ६५ का दरले किन्न लागेको हो । जबकि ईईएसएलले उक्त बल्ब भारु ३८ का दरले किनेको आफ्नो वेबसाइटमै उल्लेख गरेको छ र भारतका ऊर्जामन्त्रीले संसद्मै त्यो कुरा बताएका छन् । ईईएसएल आफैंचाहिँ एलईडी बल्ब बनाउने कम्पनी होइन, उसले अन्य उत्पादकसँग किनेर बढी मूल्यमा नेपाललाई बेच्न लागेको मात्र हो । प्रश्न उठ्छ, नेपालले सोझै उत्पादक कम्पनीसँग सस्तोमा किनेर ल्याउनुको साटो ८६ करोड बढी रकम तिर्न किन खोज्दैछ ?

नेपालले किन्न लागेको ९ वाटको त्यो एलईडी बल्बलाई भारु ३८ पर्ने कुरा भारत सरकारका आधिकारिक दस्ताबेजहरूमा स्पष्ट उल्लेख छ । ‘२०१४ फेबु्रअरीमा ३ सय १० रुपैयाँ पर्ने एलईडी बल्बको मूल्य अगस्ट २०१६ मा अत्यधिक माग र ठ्ूलो खरिदका कारण ३८ रुपैयाँमा झरेको छ,’ भारतीय ऊर्जामन्त्री पीयूष गोयलले लोकसभालाई दिएको जानकारीबारे प्रेस इन्फर्मेसन ब्युरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिअनुसार गोयलले ईईएसएलले उक्त बल्ब खरिद गरी बिक्री गर्ने २४ नोभेम्बर २०१६ मा संसद्लाई जानकारी गराएका थिए ।

नेपालले खुला प्रतिस्पर्धा गराएर खरिद गर्ने हो भने ईईएसएलले किनेको मूल्य (भारु ३८) मै किन्न सक्छ । भारतबाट नेपाल सामान निर्यात हुँदा त्यहाँको केन्द्र वा राज्य सरकारले कुनै कर वा शुल्क लगाउँदैन, भन्सार महसुल, म्ूल्य अभिवृद्धि कर र वारेन्टीबापतको रकम र सेवा शुल्कमात्र थप हुनेछ । अझ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउँदा म्ूल्य बढी प्रतिस्पर्धी हुन सक्ने सरकारी अधिकारीहरूको भनाइ छ ।

तर त्यसरी खुला प्रतिस्पर्धाबाट सस्तोमा किन्नुको साटो अघिल्लो बिहीबार मन्त्रिपरिषद् बैठकले ईईएसएलसितै भारु ६५ का दरले एलईडी खरिद गर्ने सैद्धान्तिक निर्णय लिएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको त्यो निर्णयका कारण एउटा बल्बलाई नै भारु २७ बढी तिर्नुपर्ने देखिन्छ । जसअनुसार २ करोड थान बल्ब किन्दा भारु ५४ करोड बढी भुक्तानी गर्नुपर्छ, जुन रकम ८६ करोड ४० लाख नेपाली रुपैयाँ हुन आउँछ ।

भारत सरकारको इन्फर्मेसन ब्युरोमात्रै होइन, ईईएसएलको आधिकारिक वेबसाइटमा पनि प्रतिबल्ब भारु ३८ नै पर्ने उल्लेख छ । ईईएसएलको वेबसाइटमा २०१६ सेप्टेम्बर ८ मा फिलिप्स इन्डिया लिमिटेडलाई ९ वाटका ५ करोड थान बल्ब आप्ूर्ति गर्दा १ अर्ब ९० करोड भारु भुक्तानी गर्ने निर्णय गरेको उल्लेख छ । यो आधारमा पनि उक्त ईईएसएलले किन्ने बल्बको मूल्य भारु ३८ (नेरु ६० रुपैयाँ ८ पैसा) हो ।

इन्फर्मेसन ब्युरोकै २८ मार्च २०१७ को विज्ञप्तिअनुसार फिलिप्सले ४ करोड ८० लाख थान बल्ब ईईएसएललाई आप्ूर्ति गरिसकेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपालले पनि फिलिप्स र ओस्राम कम्पनीका बल्ब ल्याउन लागेको हो । प्राधिकरणले भनेअनुसार नेपालले उक्त बल्ब खरिद गरेमा कर, भ्याट, केन्द्रीय सेल्स ट््याक्स नेपालले तिर्नु पर्दैन । नेपालको भन्सार नाकामा भने साफ्टाको प्रावधानअनुसार साढे ९ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत बुझाउनुपर्छ । साफ्टा प्रावधान प्रयोग नगर्ने हो भने भारतबाट १९ प्रतिशत र चीनबाट ल्याउँदा २० प्रतिशत भन्सार महसुल लाग्ने प्रावधान छ ।

साफ्टा प्रावधानअनुसार फिलिप्सले ईईएसएललाई दिएको दर (भारु ३८) मै बल्ब ल्याउन सकियो भने करिब ७४ नेरुमा त्यो आउँछ । प्राधिकरणले भनेकै दरमा ल्याउने हो भने (भन्सार महसुुल र भ्याट तिरेपछि) १ सय ४ नेरु पर्ने देखिन्छ । ‘समग्रमा यो प्रकरणमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चेपुवामा पारिएको छ,’ यसबारे जानकार एक उच्च अधिकारीले दाबी गरे, ‘राष्ट्रको ढुकुटीको ८६ करोड गुम्न लागेको अवस्थाबारे मुख्य सचिव सोमलाल सुवेदीले विमति जनाउँदा–जनाउँदै निर्णय गर्ने मन्त्रिपरिषद् र प्रस्ताव अघि बढाउने ऊर्जामन्त्री जनार्दन शर्मा दोषी हुन््, कुलमान होइनन् ।’ मन्त्रिपरिषद्मायस्तो प्रकृतिको प्रस्ताव आउँदै छ भनेपछि मुख्यसचिव सुवेदीले सार्वजनिक खरिद ऐनबारे जानकार अधिकारीसँग पटक–पटक परामर्श गरेका थिए । ‘सार्वजनिक खरिद ऐनअनुसार यो निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजानु पर्दैन । प्राधिकरणले नै सार्वजनिक खरिद ऐन तथा आफ््नै नियमावलीको प्रक्रिया अपनाई खरिद प्रक्रिया अघि बढाउन सक्छ भन्ने सुझाव सचिव सुवेदीले पाए,’ ती अधिकारीले भने, ‘यसबारे सुवेदीले मन्त्रिपरिषद् बैठकमा स्पष्टसँग व्याख्या गरे पनि ऊर्जामन्त्रीले राजनीतिक दबाबमा निर्णय गराएरै छाडे ।’ मन्त्रिपरिषद्को नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्न नपाउने संवैधानिक व्यवस्था भएकाले यो चलखेलमा संलग्न अधिकारीहरूले मन्त्रिपरिषद्बाटैनिर्णय गराएका हुन् ।

मुख्यसचिव सुवेदीले उठाएको प्रश्न र सञ्चार माध्यममा आएको सूचनालाई खण्डन गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई अघि सारिएको छ । ‘विद्युतको खपत घटाउन एलईडी बल्बको प्रयोगलाई बढाउन सुरु गरिएको पहल राम्रो उपाय हो,’ ती अधिकारीले भने, ‘समग्र मन्त्रिपरिषदको यो निर्णयलाई घिसिङले अनियमितता गर्न खोजे भन्न मिल्दैन । यो मन्त्रिपरिषद्ले गरेको निर्णयमाथिको प्रश्न हो ।’

मन्त्रिपरिषद् निर्णयअगावै खरिद सम्झौता
मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिनुअगावै विद्युत् प्राधिकरणले ईईएसएलसित सोझै २ करोड थान बल्ब खरिद गर्ने समझदारी (एमओय्ू) गरिसकेको पाइएको छ । यो एमओय्ूमा भारु ६५ का दरले खरिद गर्ने उल्लेख छ । विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले ईईएसएल र प्राधिकरणबीच बल्ब खरिद गर्न गत चैत ११ मा एमओयू भएको जानकारी दिए । मन्त्रिपरिषद््ले भने त्यसपछि वैशाख २१ मा मात्र प्राधिकरणलाई खरिद सम्झौता गर्न दिने निर्णय गरेको हो ।

प्रवक्ता अधिकारीका अनुसार एमओयूमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक घिसिङ र ईईएसएलका प्रतिनिधिले हस्ताक्षर गरेका छन्् । अधिकारीले मन्त्रिपरिषदको निर्णय आएपछि ईईएसएलसँग खरिद–बिक्रीको ‘टम्र्स एन्ड कन्डिसन्स’ लगायतका प्रक्रियासमेत राखी सम्झौता हुने जानकारी दिए ।

खरिद/बिक्रीबारे द्विदेशीय निर्णय थिएन

दुई देशका ऊर्जा सचिवस्तरीय (ज्वाइन्ट स्टेयरिङ कमिटी) को २०१६ जुन २७ र २८ मा नयाँदिल्लीमा बसेको बैठकमा भारतीय पक्षले आफ््नो देशमा ऊर्जाको खपत घटाउन एलईडी बल्ब वितरण कार्यक्रम सफल भएको उल्लेख गर्दै नेपालले समेत त्यस्तो कार्यक्रम लाग्ू गर्ने भएमा आफ्ूले प्राविधिक सहयोग गर्ने प्रस्तावगरेको थियो ।

‘भारतीय पक्षले नेपालमा एलईडी बल्ब वितरण कार्यक्रम लाग्ू गर्ने हो भने प्राविधिक सहयोग गर्ने प्रस्ताव मात्र गरेको थियो, एलईडी खरिदको निर्णय भएको थिएन,’ उक्त बैठकमा सहभागी तत्कालीन ऊर्जा सचिव सुमन शर्माले कान्तिपुरसित भने, ‘नेपालमा एलईडी बल्ब विस्तारमा भारतले प्राविधिक सहयोग गर्ने र ईईएसएलले बल्ब उपलब्ध गराउने प्रस्तावलाई नेपालले नोटिसमा लिएको छ भन्ने मात्र माइन्युट भएको थियो । खरिद गर्ने निर्णय भएको थिएन ।’

तर, ऊर्जा मन्त्रालय र प्राधिकरणले विज्ञप्तिमा ऊर्जा सचिवस्तरीय उक्त बैठकले ‘ईईएसएलमार्फत नेपालमा एलईडी बल्बको प्रयोग गर्ने कार्यक्रम विस्तार गर्न सकिने निर्णय गरेको’ दाबी गरेका छन्् ।

तीन कम्पनी पहिल्यै इच्छुक
एलईडी बल्ब खरिद गरी विद्युत् खपत घटाउनका लागि टेन्डर प्रक्रिया थालनी गरिए पनि नटुंग्याई मन्त्रिपरिषद्बाट अर्को निर्णय गर्न लागिएको पाइएको छ । प्राधिकरणले विद्युतो खपत घटाउन र आफ््ना ग्राहकलाई प्रतिस्पर्धी तथा सस्तो म्ूल्यमा एलईडी बल्ब बिक्रीवितरण गर्नका लागि अन्तर्राष्ट्रिय उत्पादक कम्पनी र तिनका होलसेलर छनोट गर्न सुरु गरेको टेन्डर प्रक्रियालाई तार्किक निष्कर्षमा नपुर्‍याई बिनाप्रतिस्पर्धा सोझै भारतीय कम्पनीसित खरिद गर्ने निर्णय गरिएको हो ।

२०१५ अप्रिल २४ मा प्राधिकरणले सार्वजनिक स्ूचना आह्वान गरी मुलुकभर सस्तो म्ूल्यमा एलईडी बिक्रीवितरण गर्न इच्छुक अन्तर्राष्ट्रिय कम्पनीसित नेपाली डिलरसहितको प्रस्ताव गरी आशयपत्र माग गरेको थियो । आशयपत्र भरेका कम्पनीमध्येबाट प्राधिकरणले मुलुकभर एलईडी बिक्रीवितरण गर्न तीनवटा कम्पनीलाई सर्ट लिस्टिङ (छनोट) गरेको थियो । प्राधिकरणले त्यसबारे स्ूचनासमेत प्रकाशित गरेको थियो, जसअनुसार उसबेला हिप्पो लेड लाइट कम्पनी (कोरिया), लेजेरो लाइटिङ (इन्डिया) र मेन हाउस झियामिन इलेक्ट्रोनिक्स कम्पनी (चीन) थिए ।
प्राधिकरणले लामो समयसम्म ती कम्पनीसित ठेक्का सम्झौता गर्ने प्रक्रिया नै अघि बढाएन । प्राधिकरण स्रोतका अनुसार त्यो टेन्डर प्रक्रियाको खारेजीको औपचारिक निर्णयसमेत भएको छैन । अन्त्यमा ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार प्राधिकरणले भारतीय कम्पनीसित सोझै बल्ब खरिदको प्रक्रिया अघि बढाएको हो ।

खरिद निर्णयको दफा नै त्रुटिपूर्ण
ऊर्जा मन्त्रालयले जीटूजी प्रणाली (सरकार–सरकारबीच) का माध्यमबाट भारतको सरकारी कम्पनी ईईएसएलसँग सार्वजनिक खरिद ऐनको जुन दफाअनुसार बल्ब खरिद गर्ने भनेको छ, त्यो नै त्रुटिप्ूर्ण रहेको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीहरूले दिएका छन्् । मन्त्रालय र विद्युत्् प्राधिकरणले ‘सार्वजनिक खरिद ऐनको दफा ४१ को उपदफा घ (२) अनुसार बल्ब खरिद गर्ने निर्णय’ भएको
जनाएका छन्् ।

ऐनको दफा ४१ को उपदफा घ (२) मा ‘अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थासँग सो संस्थाले तोकेको दररेटमा मालसामान वा सेवा खरिद गर्न‘परेमा’ भन्ने उल्लेख छ । ‘यो उपदफाको अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था’ भनेको संयुक्त राष्ट्रसंघ र मातहतका निकायहरू र नेपालसमेत सदस्य भएको कुनै अन्तर्राष्ट्रिय संगठन हो । यो उपदफाअनुसार सरकार या मातहतका निकायले त्यस्ता निकायसँगै खुला प्रतिस्पर्धाबिनै सोझै सामान या सेवा खरिद गर्न सक्नेछन््,’ सार्वजनिक खरिद अनुगमन कार्यालयका एक अधिकारीले भने, ‘दुई देशका सरकारी निकायबीच सामान या सेवा खरिदबिक्री यो उपदफाअन्तर्गत हुन सक्दैन । यो उपदफाअनुसार प्राधिकरणले ईईएसएलसित सामान खरिद गर्न मिल्दैन ।’

ती अधिकारीले प्राधिकरणले सार्वजनिक खरिद ऐनको दफा ४१ को उपदफा घ (३) को विशेष परिस्थितिमा खरिद गर्नुपरेमा भन्ने व्यवस्थाका आधारमा या आफ््नै खरिद नियमावलीको विशेष परिस्थितिमा भन्ने दफाका आधारमा सोझै बल्ब खरिदको निर्णय गर्न सक्ने जानकारी दिए । तर, त्यसका लागि प्राधिकरणले बल्ब खरिदका लागि किन विशेष परिस्थिति आएको हो भन्ने गतिलो पुस्ट््याइँ र आधार दिन सक्नुपर्ने ती अधिकारी बताउँछन्् ।

‘प्राधिकरणले सार्वजनिक खरिद ऐन या आफ््नै नियमावलीको ‘विशेष परिस्थितिमा खरिद गर्नुपरेमा’ भन्ने व्यवस्थाका आधारमा भारतीय सरकारी कम्पनीसित सोझै खरिदको निर्णय गर्न सक्छ, यसरी खरिद गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लानु पर्दैन । प्राधिकरण आफैंले निर्णय गर्न सक्छ । विशेष परिस्थितिमा खरिद गर्नुपर्नाको गतिलो आधार र पुस्ट््याइँ हुनुपर्छ,’ उनले भने ।

Page 2
समाचार

‘यो भारतलाई, भारतकै कम्पनीलाई सोध्नू न’

जनार्दन शर्मा, ऊर्जामन्त्री

बल्ब खरिदको विवाद के हो ?
म त चुनावका लागि रुकुममा छु । मैले मेरा कुरा पत्रकार सम्मेलन गरी भनिसकें । तिनै हुन् मेरा कुरा । यो प्रक्रियामा कसैले एक पैसा पाउने पनि छैन, गर्न दिने पनि छैन, यो मेरो प्रतिबद्धता हो । यो विषय उछाल्नेलाई मैले केही भन्नु छैन ।

३८ भारुको बल्ब ६५ मा किन खरिद गर्न लागिएको हो नि ?
यो भारतलाई सोध्नू न, भारतकै कम्पनीलाई सोध्नू । कति भन्छ, उसैलाई सोध्नुस् । यसलाई उछाल्ने काम नगर्नुस् । यो कमिसन खाने कुरा हैन । एक पैसा कसैले खायो भने त्यसको सजाय म भोग्न तयार छु । देशलाई राम्रो हुने काम गर्दा कसैलाई अनावश्यक फाइदा हुन्छ भने केही छैन । सत्य कुरालाई सत्य भनौं । ३८ हो कि ४० हो कि त्यो कम्पनीलाई सोधांै न । कसैको चुनावी उद्देश्य पूरा गर्न ल्याइएको विवाद हो, यो । आरोप प्रमाणित गर्नुस् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक (कुलमान) घिसिङले ल्याएको प्रस्ताव हो यो । दुई देशका सचिवबीच छलफल भएको छ । दुई देशबीच सम्झौता भएको छ । यस्तो स्पष्ट कुरालाई पनि उछाल्ने ? किन ?

प्रक्रिया किन छलेको नि ?
यो गभर्मेन्ट टु गभर्मेन्ट (जीटूजी) को प्रक्रिया हो । प्रक्रिया भनेको यही हो । देशको माया मलाई पनि छ । भ्रष्टाचारविरुद्ध लडेको मान्छे हुँ म पनि । लडी पनि रहेको छु । मैले गाडी चढेको देख्ने, लोडसेडिङ अन्त्य भएको नदेख्ने ? मैले भाषण गरेर आचारसंहिता उल्लंघन गरेको देख्ने ? निर्वाचन आयोगबाट अनुमति लिएको नदेख्ने ? मलाई किन यस्तो गर्न खोजिएको हो ? तपाईंहरूले लगाउनुभएको आरोप पुष्टि गर्नुहोस्, म राजनीति छाडिदिन्छु ।

सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा गराएर ल्याएको भए के बिग्रिन्थ्यो र ?
जसरी प्रतिस्पर्धा गराउने व्यवस्था छ, त्यसरी नै प्रतिस्पर्धा नगराउने व्यवस्था पनि छ नि । केही व्यवसायी पनि आएका थिए, दिन्छौं भन्दै । मैले उनीहरूलाई भनें, ‘ल ल्याऊ अहिलेको अहिल्यै दुई करोड बल्ब । दिन्छौ ? त्यही गुणस्तरको चाहिन्छ । प्रतिस्पर्धा गर्नेले त्यही गुणस्तरको दिनुपर्‍यो नि । ६ महिना, वर्ष दिन लगाएर हुन्छ ? दुई करोडले मात्रै पुग्दैन । दस करोड बल्ब चाहिन्छ । अब अर्को प्रक्रियामा प्रतिस्पर्धा गराउने नै हो । लेख्नु तपार्इंहरूको स्वतन्त्रता हो । तर कान्तिपुरले मैले भनेको कुरा नलेख्ने, नभनेको कुरा लेख्ने ? मैले विचार गरिरहेको छु नि, पुष्टि गरोस् कान्तिपुरले, म राजनीति छाडिदिन्छु ।

समाचार

पूरै नहुने गुरुयोजना

- माधव ढुंगाना

भैरहवा– लुम्बिनी विकास कोषको पदाधिकारीमा सक्षम व्यक्तिभन्दा आफू र पार्टीगत अनुकूलको व्यक्तिलाई प्राथमिकता दिई नियुक्ति गर्ने राजनीतिक परिपाटीले लुम्बिनीको विकासले गति लिन सकेको छैन । २०४८ सालमा निर्वाचित बहुदलीय सरकार आएपछि लुम्बिनी विकास कोष अध्यक्षमा पदेन संस्कृति मन्त्री हुने व्यवस्था भएअनुरूप अहिलेसम्म ३३ जना अध्यक्ष भइसकेका छन् । राजनीतिक दलको सिफारिस वा संस्कृति मन्त्रीले कोषको उपाध्यक्ष, कोषाध्यक्ष, सदस्यसचिव र योजनाप्रमुख जस्ता महत्त्वपूर्ण पदमा राजनीतिक नियुक्ति गर्ने परिपाटी छ ।

२०४८ सालपछि, अहिलेसम्म १४ जना उपाध्यक्ष, ५ जना कोषाध्यक्ष, १७ जना सदस्यसचिव र १६ जना योजना प्रमुखमा राजनीतिक नियुक्ति भैसकेको छ । तर, योजनाबद्ध ढंगले लुम्बिनीको विकासकालागि जापानका प्रशिद्ध बास्तुकलाबिद् स्व.केञ्जो टाँगेले सन् १९७८ मा तयार पारेको लुम्बिनी गुरुयोजनाले अहिलेसम्म मुर्तरुप पाउन सकेको छैन । यो गुरु योजना सन् १९९५ मैं सम्पन्न भैसक्नु पर्ने थियो । ‘लुम्बिनी विकास कोषमा राजनीतिक नियुक्ति गरेर बनाइँदै आएको राजनीतिक भर्ती केन्द्रको अखडा बनाइने संरचनामाथि राजनीतिक दलहरूले अव परिवर्तन गर्न जरुरी देखिएको छ’ लुम्बिनी विकास कोषको गतिविधिलाई नजिकबाट नियाल्दै आएका पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष शेरबहादुर केसीले भने, ‘कोषका पदाधिकारीबिच पदिय हानाथाप र बढ्दो आपसी समन्वयको दुरीले लुम्बिनीलाई सहि नेतृत्व दिन सक्दैन ।’

लुम्बिनीको विकासका लागि अव कोषको महत्वपुर्ण पदमा राजनीतिक नियुक्ति भन्दा सक्षम व्यक्तिको खोजी गरेर कार्यकारि निर्देशक रुपमा ल्याई कोषलाई स्वायत्त संस्थाको रुपमा स्थापित गरिनु पर्ने माग चौतर्फी रुपमा आउन थालेको छ । कोषका पदाधिकारीमा सेवा सुबिधा सवै लुम्बिनी विकास कोषको लिने तर अधिकांश समय लुम्बिनी भन्दा बाहिर बिताउने र लुम्बिनीको नामबाट बिदेश भ्रमणको योजना मिलाउने प्रबित्ति मौलाउँदै जानाले लुम्बिनीको विकासमा ध्यान पुग्न सकेको छैन । कोषका पदाधिकारी बिचमा आपसी समन्वयको सट्टा आन्तरिक द्वन्द्व चर्किने गरेको यतार्थता बर्षौं अघिदेखिको हो । राजनीतिक नियुक्तिबाट आउने पदाधिकारीमध्ये अधिकांश आफुलाई नियुक्ति गर्ने मन्त्री र राजनीतिक दलप्रति समर्पीत हुने गर्छन् भने केही पदाधिकारी सक्षम भएपनि फरक राजनीतिक विचार हुने भएकाले अर्को पटकसम्म टिक्दैनन् ।

कोषका पदाधिकारीबिच पछिल्लो समयमा पनि आपसी तालमेल नहुँदा लुम्बिनीको अवस्था दिनप्रतिदिन लथालिङ्ग र बेथिति बढ्दै जान थालेको छ । कोषका पदाधिकारी अधिकांश समय लुम्बिनीस्थित कोषको मुख्य कार्यालयमा भेटिदैनन् । न त उनीहरूले प्रयोग गर्ने गरेका नया र चिल्ला गाडी नै । उनिहरू के कति कामले कता गएका हुन् ? गाडीको प्रयोग के कामका लागि भैरहेको छ ? भन्ने जानकारी कसैलाई हुँदैन । ‘म पनि लुम्बिनी विकास कोषमा राजनीतिक नियुक्तिको आधारमा केही समय सदस्य सचिव भएर काम गरेपनि राजनीतिक नियुक्तिको प्रबित्ति अति गलत छ’ भैरहवाका स्थानीय समाजसेवी ओमकार गौचले भने, ‘कोषको पदाधिकारीमा राजनीतिक भागबण्डा गरिनुको सट्टा बुद्धप्रति आस्थावान बिदेशी सक्षम नागरिकलाई पनि समावेश गराइन जरुरी छ ।’

लुम्बिनी गुरुयोजनाको बिचमा ‘मोनाष्ट्री जोन’ अन्र्तत विभिन्न बिदेशी राष्ट्रलाई आआफ्ना शैलीका बिहार निर्माण गर्न दिइनुको उद्देश्य लुम्बिनी आएका यात्रुले एकै स्थानबाट विश्वका मुख्य बौद्धिष्ट राष्ट्रको कला संस्कृति एकै स्थानबाट हेर्न पाउन र लुम्बिनीको विकासमा ती राष्ट्रको पनि सहभागीता जुटोस् भन्ने हो । तर, लुम्बिनीको विकासमा ति राष्ट्रको सहभागीता जुटाउनेतर्फ न सरकार न त कोषका पदाधिकारीकै उचित ध्यान र पहल जान सकेको छ । कोषका पदाधिकारीले कोषको सेवा सुविधाको दुरुपयोग गर्ने गरेको, आफु अनुकुल हुने गरी काम गर्ने गरेको, लुम्बिनीमा आर्थिक पारदर्शीता देखाउन नसेकेको, कर्मचारीको वारेमा उचित व्यवस्थापान र निर्णय लिन नसक्दा कर्मचारी आन्दोलनले लुम्बिनी वारम्बार अवरुद्ध हुने गरेको र विश्व सामु लुम्बिनीका वारेमा नकारात्मक सन्देश जाने गरेको, कोषले स्थानियको विश्वास लिन नसकेको, गुरुयोजना विपरित आफ्नो स्वार्थका लागि बिदेशी बिहारलाई निर्धारित क्षेत्रफल भन्दा बढी जग्गाको प्लट दिने गरेको लगायता आरोप वारम्बार लाग्दै आएका छन् ।

‘लुम्बिनी विकास कोषका पदाधिकारी बिच आपसी तालमेल नहुनु र बेथीतीले गर्दा मुलुककै पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको छ’ कोषका पुर्व कर्मचारी तथा बरिष्ठ पुरातत्वबिद् बसन्त बिडारीले भने, ‘कोषका पदाधिकारी अधिकांश लुम्बिनी नबस्ने र आफु अनुकुलका काम गर्ने गर्नाले अहिलेसम्म गुरुयोजनाको पुर्बाधार नै तयार हुन सकेको छैन ।’ लुम्बिनीलाई अव सरकारले पदाधिकारी नियुक्तिको सट्टा सिधै मन्त्रालयले हेर्ने वा राजनीतिक नियुक्ति बन्द गरेर आवश्यकता अनुरुपको पदमा लोकसेवा आयोगबाट परिक्षा लिएर स्थायी संरचना बनाउन जरुरी भएको बिडारीले बताए । उनका अनुसार, लुम्बिनी गुरुयोजना सम्पन्न गर्नकालागि तत्कालिन संयुक्त राष्ट्र महासंघका उ थान्तले १५ वटा देश सहभागी रहेको लुम्बिनीका लागि एउटा अन्तर्राष्ट्रिय समितिको गठन गरेका थिए । तर त्यो समितिले पछिसम्म निरन्तरता पाउन सकेन । त्यो समितिलाई ब्युताउनु पर्ने आवश्यकता यस अघि सम्पन्न बौद्ध शिखर सम्मेलन र बौद्ध गोष्ठिले गरेपनि पहल हुन सकेको छैन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले लुम्बिनीप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो बढी भए पनि त्यही अनुरुप काम हुन नसकेको र कोष भित्रको बेथितिले काम सहज रुपमा अघि बढ्न नसकेको बताउँछन् ।

Page 3
Page 4
उपत्यका

सडक अवरुद्ध

- प्रशान्त माली

ललितपुर– बाजागाजा झाँकी र पार्टीका झन्डासहितको चुनावी प्रचारप्रसार गर्ने नेता कार्यकताले भरिने गरेको सातदोबाटो–ढोलाहिटी–चापागाउँ सडक बिहीबार भने अवरुद्ध भयो । सरकारी निकायले निर्माणमा चासो नदिएकाले सडक वर्षौंदेखि हिलाम्मे, धुलाम्मे भएको भन्दै स्थानीयले अवरुद्ध पारेका हुन् । उनीहरूले बिहान दुई घण्टा ह्युमपाइप तेस्र्याएर सडक अवरुद्ध पारे । भोट माग्ने कैयौं नेता यही सडक भएर आवतजावत गरे । ललितपुर महानगरपालिकालाई विश्वको नमुना सहर बनाउने भन्दै प्रचार पनि गरे । तर, लथालिंग सडकलाई कसैले ध्यान नदिएको सातदोबाटोका अजय क्षत्रीले बताए ।

स्थानीय मतदाता जसले बाटोको समस्या समाधान गर्छ उसैलाई मत दिने बताउँछन् । क्षत्रीले पहिलो चरणको आन्दोलन बिहान २ घन्टा अवरोध गर्ने र सम्बन्धित निकायले यसको बेवास्ता गरे थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताए । उनले चुनावको बेलासमेत बाटोबारे बेवास्ता गरेको भन्दै उम्मेदवारप्रति रोष प्रकट गरे ।

यो सडक कान्ति राजपथ हेटौंडा जोड्ने सडक अन्तर्गतको पहिलो खण्ड हो । कान्ति राथपथ पुग्ने सहायक मार्गका रूपमा रहेको खुमलटार–धापाखेल सडकसमेत गरी सडक विस्तारको ठेक्का युनाइटेड बिल्डर्सले आव ६९/७० मा ८ करोड ८३ लाख ५६ हजार रुपैयाँमा पाएको थियो । दुई पाङ्ग्रेदेखि ठूलाठूला ट्रकसमेत सडकको हिलोमा फस्ने गरेका छन् । ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जीएलडी मापदण्ड २२ मिटरलाई घटाएर १७.२ मिटर कायम गराइएको थियो । २०७२ मा आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ मिटर नै कायम गर्न निर्देशन दिएको थियो ।

डिभिजन सडक कार्यालयका इन्जिनियर आरती साहले मेलम्ची खानेपानीको पाइपले गर्दा सडक विस्तारमा ढिलाई भएको दाबी गरिन् । ‘मेलम्ची खानेपानी आयोजनाले वैशाख मसान्तभित्रमा ग्राबेल गरेर हस्तान्तरण गर्ने भनेको छ,’ उनले भनिन्, ‘ठेकेदारसँग १७.२ अनुसार सडक विस्तार गर्ने सम्झौता भइसकेको छ । सम्झौता भइसकेको ठेक्का तोड्न मिल्दैन ।’

उपत्यका

केन्द्र–केन्द्रमा मतदान अधिकृत

- कान्तिपुर संवाददाता

भक्तपुर– वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतसहितको टोली मतदान केन्द्रमा खटिएका छन् । सुरक्षाकर्मीसहित मतदान अधिकृत मतदान केन्द्र पुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी उमेशकुमार राईले बताए ।

टोली बुधबार जिल्लाका १ सय ९१ मतदान केन्द्र पुगिसेकेका छन् । मतदान केन्द्र पुगेका मतदान अधिकृतको टोलीले सर्वदलीय बैठक बसी बुथ स्थापना गर्ने तयारी गरेको छ । ‘स्वच्छ एवं निष्पक्ष मतदान सम्पन्न गराउने हाम्रो अभिभारा हो’, भक्तपुर बहुमुखी क्याम्पस केन्द्रमा खटिएका मतदान अधिकृत नीला घिमिरेले भनिन् । केन्द्रमा पुगेको टोलीले मतदाता परिचयपत्र वितरण, मतदाता शिक्षा र निर्वाध निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीका साथ हिँडेको उनले बताइन् । मुख्य निर्वाचन कार्यालय भक्तपुरका अनुसार १३ सय ३७ कर्मचारी मतदान केन्द्र खटिएका छन् । भक्तपुरको चार नगरपालिकाको ७८ स्थानमा १ सय ९१ मतदान केन्द्र तोकिएको छ । केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई/दुई जना सहायक कर्मचारी र दुई/दुई कार्यालय सहायोगी कर्मचारी खटिएको निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । मतदान केन्द्र खटिएका कर्मचारीले बिहीबारबाट मतदाता परिचय पत्र वितरण सुरु गरेका छन् । शनिबारसम्म सम्बन्धित मतदान केन्द्रबाट फोटोसहितको मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ ।

दुई हजार सुरक्षाकर्मी खटिए
स्थानीय तह निर्वाचन सुरक्षाका लागि जिल्लामा २ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरलेले बताए । जिल्लाको भौगोलिक अवस्थालाई ध्यान दिई तीन तहमा सुरक्षा योजना बनाएको पोखरेलले बताए । निर्वाचनका लागि नेपाल प्रहरी १ हजार ५१, म्यादी प्रहरी ६ सय ६ र सशस्त्र प्रहरी ३ सय ५० मतदान केन्द्रमा खटिसकेको जनाएको छ । त्यसैगरी निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले समेत मोबाइल गस्ती गरिरहेको पोखरलेले बताए । वैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया हुने र मतदाता पाँच बजेसम्म लाइनमा बसे समय थप गर्न सकिने जनाएको छ । वैशाख ३१ मा मात्रै नभई मतगणना नसकिँदासम्म सुरक्षा अवस्थाको प्रबन्ध मिलाएको जनाएको छ । भक्तपुरमा १ लाख ६१ हजार ५ सय २९ जना मतदाता छन् । जसमध्ये ८२ हजार ५ सय ९८ महिला र ७८ हजार ९ सय २६ पुरुष छन् । जिल्लामा पुरुषभन्दा ३ हजार ६ सय ७२ महिला मतदाताको संख्या बढी छ । ५ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

उपत्यका

परिचयपत्र वितरण सुरु

- कान्तिपुर संवाददाता
मतदाता परिचयपत्र वितरणको पहिलो दिन भक्तपुर दरबार परिसरमा रहेको पद्म माविकेन्द्रबाट परिचयपत्र लिएर घर फर्कंदै भक्तपुरका ७२ वर्षीय विष्णु सुवालकादम्पती (मुख्य तस्बिर) ललितपुरको पाटन दरबारक्षेत्र केन्द्रमा (बायाँ तल) रकाठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा मतदाता परिचयपत्र लिँदै स्थानीय ।तस्बिर : अंगद ढकाल, प्रताप थापा र हेमन्त श्रेष्ठ/ कान्तिपुर

ललितपुर– मतदाता परिचयपत्र वितरण बिहीबारबाट सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय ललितपुरका अनुसार परिचयपत्र वितरण गर्न २ सय ६५ मतदान केन्द्रमै टोली खटिएको छ ।

कार्यालयका अनुसार टोलीले ३ दिनसम्म बिहान ७ देखि बेलुका ५ बजेसम्म परिचयपत्र वितरण गर्नेछ । निर्वाचन कार्यालय ललितपुरकी प्रमुख सीता साम्बाले मतदानको दिन टोली व्यस्त हुने भएकाले शनिबारसम्ममा आफ्नो परिचयपत्र लिइसक्न मतदातालाई आग्रह गरेकी छन् । ‘परिचयपत्र सम्बन्धित केन्द्रमा पुगेर लिन सकिन्छ,’ उनले भनिन्, ‘परिचयपत्र विरतरणको जानकारी माइकिङबाट समेत गरिएको छ ।’

मतदान केन्द्र सञ्चालन टोलीमा ६ देखि ८ जनासम्म खटिएका छन् । ‘परिचय पत्र लिन मतदाता नामावलीमा नाम भएकाहरूले नागरिकता वा अन्य परिचय पत्र लिएर आए पुग्छ,’ जावलखेलमा खटिएका सहायक निर्वाचन अधिकृत सुरेश लाखेले भने, ‘अशक्त, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई लाइनमा बस्न नपर्ने गरी व्यवस्था मिलाएका छौं ।’ मुख्य निर्वाचन अधिकृत बाल मुकुन्द दवाडीले अब मतदान अधिकृतको टोलीले सम्बन्धित केन्द्रमा पुगेर सर्वदलीय बैठक राख्ने बताए ।

उपत्यका

दिनहुँ २० भन्दा बढी मोटरसाइकल कारबाहीमा

- शिल्पा कर्ण

काठमाडौं– काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा अनधिकृत स्थानमा पार्किङ गरिएका २० भन्दा बढी मोटरसाइकल र स्कुटर चालक दिनहुँ कारबाहीमा पर्ने गरेका छन् । महिनामा लगभग ६ सय दुई पांग्रेमाथि कारबाही हुने गरेको छ । काठमाडौं महानगरपालिका नगर प्रहरी पोस्ट रामशाहपथका सई राजेन्द्र देवकोटाका अनुसार आव ०७३/७४ को ९ महिना बित्दासम्म ५ हजार ६ सय ८ वटा मोटरसाइकल पक्राउ परेका छन् । कारबाहीमा परेका मोटरसाइकलबाटबाट ५५ लाख ६३ हजार राजस्व उठाइएको छ । साउनमा ८ सय २२ मोटरसाइकलमध्ये ७ सय ९१ बाट जरिवाना असुल गरिएको छ ।

भदौ र असोजमा क्रमश: ६ सय ३६ र ६ सय ४८ दुईपांग्रे नियन्त्रणमा लिइएको छ भने ६ सय ४८ र ५ सय २३ माथि कारबाही भएको छ । कात्तिक र मंसिर महिनामा ४ सय ८५ र ७ सय ६३ मोटरसाइकल नियन्त्रणमा लिई क्रमश: ४ लाख ७७ हजार र ७ लाख ४८ हजार राजस्व असुल गरिएको छ । पुसमा ५ सय ७७ मोटरसाइकल नियन्त्रणमा लिइएको छ भने ५ लाख ९३ हजार असुलउपर गरिएको महाशाखाले जनाएको छ । माघ र फागुनमा ६ सय ११ र ४ सय ९३ मोटरसाइकल पक्राउ गरिएको छ । जसबाट ६ लाख ३ हजार र ५ लाख ४ हजार जरिवाना लिइएको छ । चैतमा ७ सय ७ मोटरसाइकल नियन्त्रणमा लिइएको छ । ६ सय ७६ कारवाहीमा परेका छन् । जसबाट ६ लाख ७६ हजार राजश्व असुल गरिएको छ । वैशाख १७ गत्तेसम्मको तथ्यांकअनुसार यो महिनामा ५ सय १ मोटरसाइकललाई नियन्त्रणमा लिइ ४ लाख ९८ हजार राजश्व उठाइएको छ ।
अनधिकृत पार्किङ गरिएको भेटिएमा महानगरको अनधिकृत पार्किङ नियन्त्रण सवारीले उठाएर ल्याउने गरेको छ । अनधिकृत पार्किङको घटनामा पक्राउ परेका सवारीधनीले एक हजार जरिवाना बुझाउनुपर्ने हुन्छ ।

उपत्यका

कुटपिटबाट मृत्यु

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं– कुटपिटबाट घाइते भएका चन्द्रागिरि नगरपालिका विष्णुदेवी बस्ने २१ वर्षीय अनिल घलानको उपचारका क्रममा मृत्यु भएको छ । मकवानपुर फिङ्गल घर भएका घलानलाई सोही ठाउँ बस्ने धादिङका १६ वर्षीय पवन मगर र ललितपुर चापागाउँका १६ वर्षीय बुद्धि गोलेले फागुन २९ गते कुटपिट गरेका थिए । वीर अस्पतालमा उपचाररत रहँदा बुधबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने मगर र गोलेलाई प्रहरीले चैत २ मा पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरे पनि चैत २७ मा काठमाडौं जिल्ला अदालतबाट उनीहरू तारेखमा छुटेका थिए । घलानको मृत्युपश्चात प्रहरीले दुवैको खोजी गरिरहेको बताएको छ ।

उपत्यका

ट्यांकरको ठक्करबाट मृत्यु

छोटकरी
- कान्तिपुर संवाददाता

ललितपुर– पानी बोक्ने ट्यांकरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। कैलाली टीकापुर घर भई हरिसिद्धि बस्ने अखिल चौधरीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीलाई सातदोबाटोबाट गोदावरीतर्फ गइरहेको बा२ख ५५८७ नम्बरको पानीको ट्यांकरले हात्तीवनमा ठक्कर दिएको थियो । महानगरीय प्रहरी वृत सातदोबाटोका प्रहरी नायब उपरीक्षक रामेश्वर यादवले ट्यांकर चालक नवराज पाख्रिनलाई नियन्त्रणमा लिइएको बताए ।

उपत्यका

औषधि आयातकर्ताद्वारा आन्दोलनको चेतावनी

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं– नेपाल औषधि आयातकर्ता संघले सरकारद्वारा गत वर्ष ल्याइएको औषधि रजिस्ट्रेसन गाइडलाइन्समा आपत्ति प्रकट गर्दै औषधि व्यवस्था विभागमा दिइएको १५ बुँदे माग सुनवाइ नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारको ३५ प्रकारको औषधि आयातमा रोक लगाउने निर्णय नसच्चिए र १५ बुँदे माग पूरा नभए चरणबद्घ आन्दोलन गर्ने जनाएको छ । सरकारले माग सम्बोधन नगरे औषधि आयातसमेत ठप्प गर्दै जाने र भएका स्टक समेत नबेच्ने संघका अध्यक्ष अंजन पुडासैनीले दिए ।

Page 5
स्थानीय निर्वाचन

उम्मेदवारलाई निजी अंगरक्षक

- भरतपुर ब्युरो
निर्वाचन सामग्री बोकेर पर्वतको कुश्माबाट गाउँतर्फ जाँदै कर्मचारी । जिल्लामा बिहीबार मतदाता परिचयपत्र वितरण सुरु भएको छ । तस्बिर : अगन्धर तिवारी/कान्तिपुर
  • निर्वाचनको तयारी पूरा 
  • सबै केन्द्रमा कर्मचारी पुगे 
  • परिचयपत्र वितरण सुरु 
  • उम्मेदवारका घर र बजार–चोकमा सुरक्षा निगरानी

चितवन– जिल्ला सुरक्षा समितिले यहाँका विभिन्न तहका उम्मेदवारलाई निजी सुरक्षाकर्मी (पीएसओ) उपलब्ध गराएको छ । निर्वाचनविरोधी
समूहबाट हुन सक्ने सुरक्षा चुनौती मूल्यांकनपछि उनीहरूलाई सुरक्षाकर्मी उपलब्ध गराइएको हो । केही दिनयता उम्मेदवारलाई धम्की, चन्दा
असुली र पेट्रोल बम प्रहारका घटना भएपछि सुरक्षा समितिको निर्णयअनुसार निजी अंगरक्षक उपलब्ध गराइएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।

‘हामीे क्लोज रिङ (साँघुरो घेरामा) राखेर उम्मेदवारलाई सुरक्षा दिइरहेका छौं,’ उनले भने, ‘उम्मेदवारको निर्वाचन अभियान, बसस्थान, सभास्थल, घरदैलो कार्यक्रमलगायतमा समेत सुरक्षा दिएका छौं ।’ खतरा (थ्रेट) भएका उम्मेदवारलाई मात्र निजी अंगरक्षक उपलब्ध गराइएको उनले जनाए । अन्य उम्मेदवारको सुरक्षामा पनि कुनै कसर बाँकी नराखिएको थापाको भनाइ छ । सुरक्षा चुनौती देखिएपछि केही दिनअघि जिल्ला सुरक्षा समितिले अंगरक्षक उपलब्ध गराउने निर्णय गरी गृहमन्त्रालय पठाएको थियो ।

उम्मेदवारका घर वरपरका क्षेत्र र मुख्य बजारका चोकमा समेत सुरक्षाकर्मीले निगरानी बढाएका छन् । त्यसका लागि ३ हजार २ सय नेपाल प्रहरी र १ हजार २ सय ५५ म्यादी परिचालन गरिएको छ । स्थानीय तह निर्वाचनका लागि जिल्लाका विभिन्न दलका २ हजार २ सय १० उम्मेदवारले मनोनय दर्ता गराएका छन् । निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले बिहीबार बिहानसम्म २३ जनालाई पक्राउ गरेको छ ।

मतदातालाई केन्द्र टाढा
चितवनस्थित सबै मतदान केन्द्रमा परिचयपत्र वितरण सुरु गरिएको छ । बिहीबारबाट सुरु परिचय वितरण कार्यक्रम शनिबारसम्म चल्नेछ । जिल्लाका ३ सय ७६ वटै मतदान केन्द्रमा कर्मचारीसहित मतदान सामग्री पुगिसकेको छ । ‘कर्मचारी र मतदाता शिक्षा स्वयंसेवकले परिचयपत्र बाँड्ने गरेका छन्,’ जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले भने, ‘परिचयपत्र सँगै भोट हाल्ने तरिकासमेत सिकाएर पठाउने गरिएको छ ।’ उनका अनुसार मतपत्र, मतपेटिका, मतदाताको नामावली, परिचयपत्रसहित ६६ प्रकारका मतदान सामग्री सबै केन्द्रमा पुगिसकेका छन् । ‘अब बाँकी भनेको बुथ बनाउने काम मात्र हो,’ ढकालले भने, ‘शनिबारसम्म त्यो काम पनि सकिनेछ ।’ विकट गाउँमा भने मतदातालाई मतदानस्थलसम्म पुग्न समय लाग्ने भएको छ ।

‘केही पहाडी गाउँमा मतदातालाई मतदानस्थल पुग्न अलि बढी समय लाग्ने देखिएको छ,’ प्रमुख ढकालले भने, ‘पहिलेभन्दा अहिले मतदान केन्द्र बढाइएकाले त्यति धेरै समस्या नहोला ।’ विकट गाउँमा चेपाङ समुदायको बसोबास बढी रहेकाले ती ठाउँमा मतदान केन्द्र टाढा पर्छन् । राप्ती नगरपालिकाको वडा नम्बर १३ स्थित यसिकाईका मणिलाल चेपाङ भोट हाल्न जान ३ घण्टा लागे पनि ३१ गते कहिले आउँछ भन्दै कुरेर बसेको बताए ।

निर्वाचन कार्यालयका अनुसार महानगरपालिका, नगरपालिका र गाउँपालिकामा प्रत्यक्ष निर्वाचनबाट ५ सय ४ जना जनप्रतिनिधि चुनिनेछन् । त्यस्तै नगरसभा र गाउँसभाका सदस्यले २० जना दलित र अल्पसंख्यकलाई मनोनीत गर्नेछ । योसहित जन प्रतिनिधिको संख्या ५ सय २४ हुनेछ । त्यस्तै प्रत्येक वडाका वडा सदस्यमा एक महिला, एक दलित महिला अनिवार्य हुनुपर्नेछ । निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल मतदाताको संख्या ३ लाख १५ हजार ९ सय ३७ छ ।

तयारी पूरा
मकवानपुरमा निर्वाचन तयारी पूरा भएको छ । निर्वाचन सम्पन्न गर्न खटाइएका कर्मचारी बुधबार साँझसम्म सम्बन्धित मतदानस्थल पुगेर मतदाता परिचय वितरण सुरु गरिसकेका छन् । दुर्गम र विकट केन्द्रका कर्मचारी बुधबार राति पुगेको निर्वाचन कार्यालयले जनाएको छ । ‘जिल्लाका सबै केन्द्रमा खटाइएका कर्मचारी बुधबार राति पुगेर बिहीबारदेखि मतदाता परिचयपत्र वितरण सुरु गरिसकेका छन्,’ निर्वाचन कार्यालय प्रमुख गोविन्द पौडेलले भने । जुन केन्द्रमा मतदान गर्ने हो मतदाताले त्यहीँबाट परिचयपत्र पाउँछन् । निर्वाचन आयोगले बिहीबार, शुक्रबार र शनिबार तीन दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदाता परिचयपत्र वितरण गर्न निर्देशन दिएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई सुरक्षाकर्मीको स्कर्टिङमा मतदान केन्द्र पुर्‍याइएको थियो । सदरमुकाम हेटौंडा नगरको मध्य र आसपास क्षेत्रका मतदान केन्द्रमा बिहीबार बिहान कर्मचारी पुगेका थिए । उत्तरी क्षेत्रमा पर्ने थाहा नपाको टिस्टुङस्थित कालीदेवी प्रावि मतदान केन्द्रका मतदान अधिकृत ध्रुव भुजेलले आफू बुधबार राति पुगेर बिहीबार बिहान ८ बजेदेखि परिचयपत्र वितरण गरेको बताए ।

सिलिन्डर बम विस्फोट
अज्ञात समूहले हेटांैडा उपमहानगर–१६ का वडाध्यक्ष उम्मेदवार गोविन्द दाहालको घरमा बुधबार राति सिलिन्डर बम विस्फोट गराएको छ । घटनामा ३४ वर्षीय श्यामप्रसाद दाहाल घाइते भएका छन् । उनलाई उपचारका लागि राति नै काठमाडांै लगिएको छ । न्याय सेवाका अधिकृतसमेत रहेका दाहाल आइतबार हुने चुनावमा मतदान गर्न घर आएका थिए । घरछेउ राति आगो बलेको देखेर निभाउन जाने क्रममा बम पडकेको थियो । अज्ञात समूहले टायरमा बम अडकाएको पाइएको छ । राति नै एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक वसन्तकुमार लामाले बताए ।

कर्मचारी केन्द्र पुगे
नवलपरासी– निर्वाचन सामग्रीसहित मतदान अधिकृतका टोली जिल्लाका सबै केन्द्रमा पुगेका छन् । उनीहरूले बिहीबारदेखि फोटोसहितको मतदाता परिचयपत्र बाँड्न सुरु गरेको प्रमुख निर्वाचन अधिकृत कैलाश केसीले बताए । ‘१ सय १२ मतदान स्थल, २ सय ३० मतदान केन्द्रमा कर्मचारी पुगेर काम सुरु भइसकेको छ,’ उनले भने, ‘भौगोलिक रूपमा विकट केही गाउँपालिकामा हिजो (बुधबार) र सुगम क्षेत्रमा आज (बिहीबार) बिहानै अधिकृत सहित कर्मचारी पुगेका हुन् ।’ जिल्लाको नवलपुर क्षेत्रमा मात्रै पहिलो चरणको चुनाव हँुदैछ । जिल्लाका ८ वटा स्थानीय तहमा स्वयंसेवकबाहेक १ हजार ३ सय ६८ जना कर्मचारी खटिएका छन् । २ हजार ६ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी ८ सय, म्यादी प्रहरी ८ सय, सशस्त्र ५ सय र नेपाली सेना ५ सय परिचानल गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । मतदान स्थलमा सुरक्षा चुनौतीका आधारमा सुरक्षाकर्मी खटाइएको छ । अति संवेदनशील क्षेत्र, संवेदनशील क्षेत्र र सामान्य क्षेत्रका रूपमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको रानाले बताए । थप बलका लागि कावासोती केन्द्र मानेर विशेष सुरक्षा टोली परिचालन गरिएको छ । मध्यविन्दु नगरपालिका, त्रिवेणीविनयी गाउँपालिका र देवचुली नगरपालिकाको रजहर क्षेत्रका केही मतदान स्थललाई संवेदनशील क्षेत्रको रूपमा राखिएको छ ।

मतदाताको नाम छुट्यो
पर्सा– निर्वाचन कार्यालयका कर्मचारीको लापरबाहीले ५ सयभन्दा बढी मतदाताको नाम छुटेको सरोकारवालाले बताएका छन् । २०७० चैतमा जिल्ला प्रशासनबाट नागरिकता बनाएकाहरूले त्यसलगत्तै मतदाता परिचयपत्रका लागि खिचाएको तस्बिर हराएको स्वतन्त्र मानव अधिकार समाजका अध्यक्ष कृष्णकुमार खनालको भनाइ छ । खनालले आफूलगायत थुप्रै मतदाताले जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिएको बताए । जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख महम्मद मैनुद्दिन भने कर्मचारीको लापरबाहीले मतदाताको नाम छुटेको भन्न सकिने अवस्था नरहेको बताउँछन् । ‘एक ठाउँमा तस्बिर खिचाएका व्यक्तिले अर्को ठाउँमा पनि खिचाउँदा यस्ता समस्या देखिन्छन्,’ उनले भने ।

स्थानीय निर्वाचन

बदर मत घटाउन नमुना मतदान

- कान्तिपुर संवाददाता

रुकुम– निर्वाचनको तयारी स्वरूप यहाँ नमुना मतदान कार्यक्रम आयोजना गरिएको छ । आइतबार हुने निर्वाचनमा मत बदर कम गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यस्तो कार्यक्रम राखेको हो । मुसिकोट नगरपालिका ५, सेरीगाउँको यमुना नन्द नमुना मावि मतदान केन्द्रमा भएको नमुना मतदानमा २८ जना मतदाताले सहभागिता जनाएका थिए । तीमध्ये नगरको मेयर र उपमेयरमा एक–एक मत बदर भएको छ । त्यस्तै वडाध्यक्षमा एक, महिला सदस्यमा दुई, दलित महिला सदस्यमा दुई, एकल चिह्न भएको सदस्यमा एक र दुइटा चिह्न भएको सदस्यमा दुई मत बदर भएको जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले जानकारी दिए । नमुना मतदानका क्रममा देखिएका त्रुटि ध्यानमा राखेर मतदाता परिचयपत्र लिन आएका मतदातालाई मतदानका विषयमा जानकारी गराइएको छ । सदरमुकाममा नमुनाका रूपमा गरिएको मतदानको नतिजाका आधारमा जिल्लाभर मतदाता शिक्षा दिइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दस प्रतिशत बदर
कालीकोट– खाडाचक्र नगरपालिका २ स्थित भवानी आधारभूत विद्यालय मेग्र मतदान केन्द्रमा बिहीबार नमुना मतदान गरिएको छ । दलित समुदायको बढी बसोबास रहेको मेग्रमा ३५ जनाले मतदान गरे । जसमा १० प्रतिशत मत बदर भए । उक्त केन्द्रमा ६ सय १६ मतदाता छन् । निर्वाचन आयोगले ढिलो पत्राचार गरेकाले नमुना मतदान आयोजनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मणिराम भट्टराईले बताए । उनका अनुसार बिहीबार जिल्लाका दुई स्थानमा नमुना मतदान गरिएको छ । दलित समुदायमा शैक्षिक अवस्था कमजोर भएको र मतदाता शिक्षासमेत प्रभावकारी ढंगले सञ्चालन नभएको एक उम्मेदवारले बताए । ९० प्रतिशत दलित समुदाय भएको मेग्रमा धेरै मतदाताको नामावली छुटेको गुनासो आएको मतदान अधिकृत आइती चौधरीको भनाइ छ ।जिल्लाका ३ नगरपालिका र ६ गाउँपालिकामा १ हजार ५ सय १५ उम्मेदवार चुनावी मैदानमा छन । ९९ मतदान स्थलमा १ सय ९ मतदान केन्द्र छन् । ६० हजार २८ मतदाताले मतदान गर्नेछन् ।

सुरक्षा व्यवस्था कडा
सल्यान– निर्वाचनका लागि संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तीन नगरपालिका र सात गाउँपालिकामा रहेका सबै मतदान केन्द्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । जिल्लाका १ सय ११ मतदान स्थलमा ९ देखि १५ जनासम्म सुरक्षाकर्मी खटाइएको प्रजिअ भरतकुमार बुढाथोकीले बताए । उनले सुरक्षाका लागि म्यादी, नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन गरिएको जानकारी दिए । प्रशासनले निर्वाचनविरोधी गतिविधि गर्ने चारजनालाई नियन्त्रणमा लिइएको जनाएको छ । यसैबीच निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीले बिहीबारदेखि परिचयपत्र वितरण सुरु गरेका छन् ।

स्थानीय निर्वाचन

‘ऐतिहासिक जिम्मेवारी पाइयो’

निर्वाचन कर्मचारी भन्छन्
- प्रकाश अधिकारी
अमरज्योति मावि सुर्खेत केन्द्रमा बिहीबार आफ्नो परिचयपत्र हेर्दै मतदाता । तस्बिर : प्रकाश/कान्तिपुर

सुर्खेत– सहायक जिल्ला वन अधिकृत सूर्यप्रसाद शर्माले हालसम्म चारवटा निर्वाचन सम्पन्न गराए । यस पटकको निर्वाचनमा उनलाई मतदान गर्ने रहर थियो । ‘दुई निर्वाचनमा मतदान अधिकृत र दुईमा सहायक मतदान अधिकृत भएर अनुभव हासिल गरियो । यसपल्ट सकभर निर्वाचनमा खटिन नपरेको भए हुन्थ्यो भन्ने लागिरहेको थियो,’ उनले भने, जिम्मेवारी दिइसकेपछि पूरा गर्नैपर्‍यो ।’

यसपालि संघीय संरचनाअन्तर्गतको स्थानीय तह निर्वाचनको अनुभव बटुल्दै गरेका उनले वीरेन्द्रनगर १२ चनौटस्थित केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी पाएका छन् । ‘यो निर्वाचनको विशेष महत्त्व छ । हामी राष्ट्रसेवकले भोट हाल्न नपाए पनि निर्वाचन सम्पन्न गराउन पाउँदा अत्यन्त जिम्मेवारीबोध भएको छ,’ शर्माले भने ।

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत राम हमाल चौकुने गाउँपालिकाको केन्द्र गुटुमा खटिएका छन् । उनले पनि मतदान गर्न पाउँदैनन् । सुरक्षा अवस्थाको रिपोर्टिङ गर्ने दायित्व बोकेका हमालले मतदान गर्न नपाए पनि सन्तोष व्यक्त गरे । जिल्ला निर्वाचन कार्यालयले जिल्लाका नौ तहका १ सय ३८ मतदान केन्द्रमा १ हजार ४ सय ४० राष्ट्रसेवक कर्मचारी खटाएको छ । झन्डै दुई दशकपछि हुन लागेको निर्वाचनमा खटिँदा भोट हाल्न नपाए पनि पछुतो नरहेको उनीहरूको भनाइ छ । ‘चुनाव सम्पन्न गराउने हाम्रो दायित्व हो । निर्वाचनबाट लामो समयपछि स्थानीय जनप्रतिनिधि चुनिँदै छन्,’ अमरज्योति मावि केन्द्रमा मतदाता परिचयपत्र वितरण गरिरहेकी ज्योति केसीले भनिन्, ‘आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्नु नै ठूलो सन्तुष्टि हो ।’

जनउच्च मावि मतदान केन्द्रमा खटिएका दैलेख भगवतीमाई गाउँपालिका १ का प्रेम विक म्यादी प्रहरी हुन् । उनलाई आफ्नो गाउँबाट कसले जित्ला भन्ने जिज्ञासा तीव्र छ । ‘मतदान गर्न गाउँ जान नपाइने भो, म्यादी भइयो,’ उनले भने, ‘यहाँको ड्युटी निष्पक्ष भएर पूरा गर्नैपर्‍यो ।’
आइतबार हुने निर्वाचनका लागि कर्मचारी, सुरक्षाकर्मी मतदानस्थलमा खटिइसकेका छन् । मतदाता परिचयपत्र वितरण, मतदानस्थलको सुरक्षा तथा निर्वाचन जनशक्तिका लागि आवास व्यवस्थापन गर्नेलगायत काम चलिरहेको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नवीन पौडेलले मतदाता परिचयपत्र वितरण भइसकेको जानकारी दिए । उनले भने, ‘सबै केन्द्रबाट अधिकांश परिचयपत्र वितरण भएको सूचना प्राप्त भएको छ ।’

गाउँगाउँमा सुरक्षा टोली
क्षेत्रीय सुरक्षा समितिले प्रदेश नम्बर ६ का २ सय ५१ मतदान केन्द्रलाई अति संवेदनशील भन्दै उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ । विरोधी समूहबाट निर्वाचन बिथोलिन सक्ने भन्दै सुरक्षा निगरानी बढाइएको हो । जिल्लाका ८ सय ९५ स्थलमा १ हजार १ सय ९९ सय मतदान केन्द्र छन् ।

स्थानीय प्रशासनको सिफारिसका आधारमा समितिले २ सय ५१ केन्द्र अतिसंवेदनशील, ३ सय ४६ लाई संवेदनशील तथा ३ सय ३० केन्द्रलाई सामान्य सुरक्षा अवस्थाको सूचीमा वर्गीकरण गरेको हो । अति संवेदनशील जिल्लाका रूपमा कालिकोट, रुकुम, जाजरकोट, जुम्ला र प्युठानको सुरक्षा व्यवस्था मजबुत पारिएको क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत केशवप्रसाद उपाध्यायले जनाए । उनका अनुसार सुर्खेत, दैलेख, मुगु, डोल्पा र हुम्लामा सुरक्षा अवस्था सामान्य छ ।

रुकुमका १०४ केन्द्रमध्ये २४, सल्यानमा १११ मध्ये ७०, जाजरकोटका ८५ केन्द्रमध्ये १२, जुम्लाका ४१ केन्द्र, मुगुका २६, कालिकोटका ३८, डोल्पाका ३०, सुर्खेतका २० केन्द्र अति संवेदनशीलको सूचीमा छन् । हुम्ला र दैलेखको सुरक्षा अवस्था सामान्य रहेको बताइएको छ । ती जिल्लामा कुनै पनि केन्द्रलाई अति संवेदनशील भनेर वर्गीकरण गरिएको छैन ।

समितिले निर्वाचनका लागि ५ हजार ३ सय २५ नेपाल प्रहरी, ३ हजार १ सय ७० सशस्त्र प्रहरी ५ हजार ८ सय ३ हजार म्यादी, १ सय २९ राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर खटाएको छ । मतदान केन्द्रको चौथो सुरक्षा घेरा पाएको सेनाले करिब ९ हजारको संख्यामा जनशक्ति परिचालन गर्दैछ । तीमध्ये थुपै्र केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका छन् । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) विजयलाल कायस्थले गुन्डागर्दी, विस्फोट, आगजनी, उम्मेदवार तथा मतदाताको अपहरण, धम्कीलगायत गतिविधि हुने सक्ने भन्दै शंकास्पद समूहमाथि विशेष निगरानी राख्न, शंकास्पद गतिविधि गरे नियन्त्रणमा लिन निर्देशन दिइएको बताए ।

प्रदेश नम्बर ६ का १० जिल्लामा २५ नगरपालिका, ५४ गाउँपालिका, ७ सय १८ वडा गरी १२ हजार १ सय ५२ जनाको उम्मेदवारी परेको छ । तीमध्ये १ सय ५५ जना निर्विरोध भइसकेका छन् । निर्विरोध हुनेमा सबैभन्दा बढी डोल्पाका १ सय १९ जना छन् । यस प्रदेशमा कुल ७ लाख ८३ हजार ४ सय २३ मतदाता छन् ।

Page 6
सम्पादकीय

चुनावी सुरक्षामा ध्यान देऊ

स्थानीय तह निर्वाचनअन्तर्गत मतदान हुने दिन नजिकिँदै गर्दा हिंसात्मक घटना पनि बढेका छन् । चुनाव प्रचारप्रसारकै क्रममा दोलखा, रुकुम, गोरखा, धादिङलगायतका जिल्लामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएका छन् । दोलखामा त एक जनाको ज्यानै गएको छ । सम्बन्धित गाउँ/नगरपालिकाको चुनावलाई प्रभाव पार्ने गरी हिंसाका घटना हुनु गम्भीर चिन्ताको विषय हो । यस्ता घटनाको निरन्तरताले निर्भयका साथ मत खसाल्ने वातावरण मात्र बिथोल्दैन, निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठ्ने अवस्था आउन सक्छ ।

निर्वाचन आयोगका अनुसार पछिल्लो समय आठ जिल्लामा भएका ११ वटा घटना राजनीतिक दलसँग सम्बन्धित छन् । अधिकांश ठाउँमा ठूला दलहरूका कार्यकर्ताबाट घटना गराइएका छन् । झडपमा परी दोलखाको जुगुमा बुधबार ३३ वर्षीय कुलबहादुर तामाङको मृत्यु भएको छ । विभिन्न ठाउँमा भएका घटनामा २५ जना घाइते भएका छन् । आफ्नो पहुँच भएका ठाउँमा अर्कोलाई ढिम्किन नदिने र मुख्य प्रतिस्पर्धीको प्रदर्शन/कार्यक्रमलाई ईष्र्याका दृष्टिले हेर्ने दलका नेता तथा कार्यकर्ताको मनोवृत्तिकै उपज हुन् यस्ता हिंसात्मक घटना । यसैबीच, निर्वाचन आयोगले सरकार र प्रमुख दलहरूलाई अराजक गतिविधि दोहोरिन नदिनेतर्फ सचेत गराएको छ जुन सकारात्मक छ ।

चुनाव जति नजिकिँदै जान्छ, सुरक्षा संवेदनशीलता उति बढ्दै जान्छ । सरकारले मतदान केन्द्र र मतपेटिका सुरक्षाका लागि चाँजोपाँजो मिलाएको छ । त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीसँगै नेपाली सेनासमेत खटाइएको छ । यसले मतदान हुने दिनको सुरक्षा सुनिश्चितता त गर्न सक्छ, तर मतदान केन्द्रबाहिर र मतदानको दिनभन्दा अगाडि नै दलका नेता र कार्यकर्ता झडपमा उत्रिन्छन्, जहाँ सुरक्षा निगरानी पुगेको हुँदैन । हरेक घर तथा व्यक्ति–व्यक्तिमा सुरक्षाकर्मीको निगरानी सम्भव पनि छैन । तर राज्यले पर्याप्त जनशक्ति व्यवस्था गर्दै स्थानीय प्रहरी एकाइहरूलाई सक्रिय र सजग बनाएर मतदानको दिनभन्दा अगाडि हुने हिंसात्मक घटना नियन्त्रण गर्न सक्छ । यसमा मुख्य भूमिका भने राजनीतिक दलहरूकै हुन्छ । उनीहरूले स्थानीय स्तरका आफ्ना नेता–कार्यकर्तालाई हिंसात्मक घटनाको परिस्थिति सिर्जना नहुने गरी संयम बन्न निर्देशन दिनुपर्छ । कुनै एक पक्षबाट आचारसंहिता उल्लंघन हुँदा पनि अर्को पक्ष भड्किने भएकाले आचारसंहिता पालनामा समेत उम्मेदवारहरू इमानदार बन्न जरुरी छ ।

स्थानीय निर्वाचनमा तस्बिरसहितको मतदाता नामावली अनिवार्य गरिएकाले पहिलेजस्तो फर्जी मत खस्ने सम्भावना छैन । तर मतदातालाई धम्क्याएर, मतदानबाट वञ्चित गराएर परिणाम आफ्ना पक्षमा पार्ने प्रयास हुन सक्छ । यस्ता गतिविधि नियन्त्रण गर्न पनि सुरक्षा निकाय सजग हुनुपर्छ । राजनीतिक दलहरू पनि आफ्ना तर्फबाट त्यस्ता क्रियाकलाप नगर्न, नगराउन प्रतिबद्ध हुनुपर्छ । कतिपय असन्तुष्ट राजनीतिक समूहले पनि विभिन्न स्थानमा मतदान बिथोल्ने जोखिम छ । यसबीच आगजनी र तोडफोडका छिटफुट घटना पनि भएका छन् । म्याग्दीको बेनीमा वडाध्यक्षका उम्मेदवारलाई अपहरण गरेर २४ घण्टापछि मुक्त गरिएको पनि धेरै भएको छैन । त्यसैले उम्मेदवारको सुरक्षामा पनि ध्यान पुर्‍याउन जरुरी छ । चुनाव बिथोल्ने नियत राखेका समूहहरूका क्रियाकलाप नियन्त्रणमा सुरक्षा संयन्त्र सफल भयो भने पनि मतदाताले भयरहित अवस्थामा मताधिकार प्रयोग गर्ने वातावरण बन्न सक्छ ।

पहिलो चरणको निर्वाचनका लागि बिहीबार मध्यराति मौनअवधि सुरु भएको छ अर्थात् अब मतदानको काम पूरा नभएसम्म निर्धारित क्षेत्रभित्र चुनावी प्रचारप्रसार गर्न पाइँदैन । यो नियमको इमानदार पालनाले पनि निर्वाचनको सहज वातावरण निर्माणमा मद्दत पुग्छ । निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दललगायत सबै पक्षको इमानदार र विवेकपूर्ण भूमिकाले निर्वाचनलाई तोकिएकै दिनमा सफलतापूर्वक सम्पन्न गराउन सक्छ ।

दृष्टिकोण

ओबर सम्मेलन र नेपाल

- ध्रुव कुमार

पर्सि वैशाख ३१ गते लोकतान्त्रिक नेपालको राजनीतिक इतिहासमा दुई दशकपछि परिवर्तित राज्यव्यवस्था अनुसार संघीय प्रदेश नं. ३, ४ र ६ मा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न हुँदैछ । घरेलु राजनीतिमा अस्थिरता र अन्योलग्रस्त सरकारको निम्ति यो सुखद क्षण हुनेछ । त्यही दिन नेपालले बेइजिङमा सुरु हुने चीनको महत्त्वाकांक्षी ‘वान बेल्ट, वान रोड’ (ओबर) योजना सम्बन्धी दुईदिने अन्तरमहादेशीय शिखर सम्मेलनमा भाग लिनेछ । ओबरप्रति राजनीतिक स्तरमा नेपाली नेतृत्व वर्गको प्रतिबद्धताको बाबजुद निकै अन्योल, छलफल तथा कूटनीतिक वार्ता र संवादपछि सहकार्य र सहभागिताको विकल्प अप्रिय हुनसक्ने निचोडसहित ढिलै भए पनि चिनियाँ प्रस्तावमा हस्ताक्षर गरी उक्त योजनामा सहभागी हुने निर्णय गरेको छ । यसले नेपाल–चीन सम्बन्धमा सकारात्मक प्रभाव पर्ने अपेक्षा राख्न सकिन्छ ।

ओबर योजनाको प्रस्तावक चीनका प्राज्ञिक, राजनीतिक तथा सैनिक जुनसुकै हैसियतका उच्चस्तरीय पदाधिकारीले नेपाल भ्रमण गर्दा उक्त योजनामा सहभागिताबाट हामीलाई हुने लाभैलाभको आश्वासन बाँडेका छन्, चाहे ती प्रायोजित गोष्ठीहरूमा हुन् वा राजनीतिक भेटघाटका क्रममा हुन् । ओबरको अवधारणा ‘चिनियाँ सपना’ले निर्धारण गरेकाले त्यसको उद्देश्य पक्कै पनि सहभागी मुलुकहरूलाई पुग्ने लाभमा मात्र सीमित रहेको छैन । किनभने यो आर्थिक, भूराजनीतिक र राष्ट्रिय स्वार्थ निहित योजना चीनको परोपकारी नीति अवश्य पनि होइन । ओबरको जुन ढंगले प्रचार–प्रसार गरिएको छ, त्यसमा चीनको दूरगामी राष्ट्रिय उद्देश्य जोडिएको छ । आफ्नो महत्त्वाकांक्षी योजना साकार गर्नकै निम्ति चीनको तत्वावधानमै एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) २०७१ सालमा स्थापना गरियो । नेपाल समेत उक्त बैंकको संस्थापक सदस्य रहेको छ ।

एआईआईबीको मूलभूत उद्देश्य नै ओबर अन्तर्गतका योजनाहरूमा लगानी गर्नु हुनेछ । यसको निम्ति प्रारम्भिक चरणमा ९०० अर्ब अमेरिकी डलर लागतको योजनाहरूको खाका तयार भइसकेको भनाइ सार्वजनिक भएको छ । चीनले आफ्नो दक्षिणी र पश्चिमी भेगमा रहेका सहभागी राष्ट्रहरूमा वार्षिक १५० अर्ब अमेरिकी डलर पूर्वाधार निर्माणमा लगानी गरी आफ्नो बजार विस्तार गर्नुका साथै प्रभाव बढाउने लक्ष्य राखेको छ ।नेपाल–चीनबीच पूर्वाधार निर्माणका साथै द्विपक्षीय विकास योजनाहरू ओबरकै बृहत अवधारणा अन्तर्गत सञ्चालन गर्ने सहमति हाम्रा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको २०७२ मा चीन भ्रमणको बेला व्यापार तथा पारवहन सन्धिमा हस्ताक्षर गर्नुसितै भएको थियो । तत्पश्चात त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र अध्ययन संस्थानको डिन कार्यालयसमेत हौसिंँदै ‘ट्रान्स हिमालयन अनुसन्धान केन्द्र’ खोल्ने तरखरमा जुटेको थियो ।

तर दुर्भाग्य, सरकार परिवर्तनसितै नेपालमा ओबरप्रति शिथिलता छायो । अहिले सन्दर्भ फेरिएको भए पनि ओबरमा नेपालको सहभागिता र सहकार्य आफ्नै प्राथमिकतामुखी हुनुपर्छ । ओबरको प्राथमिकता ‘कनेक्टिभिटी’ र पूर्वाधार निर्माण भएकोले दक्षिण एसियामा चीनको प्रवेशद्वार नेपाल हुँदा हामीले आफ्नै पूर्वाधार निर्माणको लक्ष्यसित चीनको लक्ष्यलाई जोड्न सक्नुपर्छ । नेपालको भूराजनीतिक स्थितिमात्र नभई भूबनोटको संरचना पनि पूर्वाधार निर्माणको लागत बढाउने खालको छ । विकासको गतिशून्य स्थितिबाट गतिशील स्थितिमा पुग्न विश्व बैंककै २०७१ तिर प्रकाशित प्रतिवेदनअनुसार नेपालले बर्सेनि १८ अर्ब अमेरिकी डलर आउँदो ५ वर्षसम्म पूर्वाधार निर्माणमा खर्चिनु पर्नेछ । यो खर्च रकम हाम्रो औकात बाहिर छ । किनभने विप्रेषणमा निर्भर हाम्रो अर्थतन्त्रमा १८ अर्ब अमेरिकी डलर लगभग कुल गार्हस्थ उत्पादनसरह नै हुन आउँछ ।

यति ठूलो रकम उपलब्ध गराई पूर्वाधार निर्माणको जोहो गरिदिन हाम्रोलागि अरू मित्रराष्ट्र वा वित्तीय संस्था पनि तम्सिने छैन । एसियाली विकास बैंक (एडीबी) को हालै (वैशाख २०७४) मा सम्पन्न ४ दिने गोष्ठीमा पूर्वाधार निर्माणको निम्ति स्रोत सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि उक्त बैंकले आगामी ३ वर्ष (२०७७) सम्म आर्थिक सहयोग रकम २० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । तसर्थ एडीबी हाम्रो पूर्वाधार निर्माण खर्च जुटाउने मुख्य माध्यम हुनसक्दैन । पूर्वाधार विना नेपालको विकासको सम्भावना क्षीण हुने हो भने ओबरमार्फत चीनसित पूर्वाधार निर्माण कार्यमा सहभागी त हाम्रोलागि अपरिहार्य मात्र होइन, लाभदायी विकल्प पनि हुनसक्छ । ऋण नै सही, ओबरलाई राष्ट्रिय हितअनुकूल प्रयोग गर्न सकिए यसले मुलुकको अनुहार फेर्न सक्छ । स्पष्टतया ओबरमा सहभागिताबिना नेपालको चीनसितको सम्बन्ध र लगानीको सम्भाव्यता नै क्षीण हुनुका साथै क्षेत्रीय राजनीतिमा भुटानभन्दा प्रतिकूल परिस्थितिमा बाँच्नुपर्ने अवस्था आउनेछ । कमसेकम भुटानले आफ्नो राष्ट्रिय स्वार्थ अनुकूल भारतप्रदत्त बीबीआईएनको सहभागिता नकार्न त सक्यो ।

लगानीको निम्ति गुहार्न हामी चुकेका छैनौं । तर विधिविधान अन्तर्गत सञ्चालित भई आवश्यक वातावरण बनाई लगानीकर्ताको विश्वास जित्न हाम्रा राजनीतिक नेतृत्व भने चुकेको छ । लगानी प्रबद्र्धनकै निम्ति भर्खरै भारतको राजधानी नयाँदिल्लीस्थित नेपालसित कूटनीतिक सम्बन्ध भएका गैरआवासीय राजदूतावासका प्रतिनिधिहरूसँग २ दिने गोष्ठी गर्दै नेपाल लगानी उपयुक्त मुलुक भएको प्रचार गरिएको अवस्थामा ओबरमा सहभागिताद्वारा लगानी सहज गर्न चीनलाई आकर्षित गरिराख्नुपरेको छैन । तर आफ्नो स्वार्थप्रति संवेदनशील भई त्यसको जगेर्ना गर्न भने सचेत रहनु अनिवार्य छ । किनभने लगानी सित्तै आउँदैन । हामीले आफ्नो प्राथमिकता अनुसार चीनसित समझदारी गरी योजना सञ्चालन गर्न सकेनौं वा ‘नेपाल गौरव’का योजनाहरूजस्तै अलपत्र छोडी गौरवगाथा गाएर बस्ने अवस्था आए नेपाल ऋणमा डुब्न सक्ने सम्भावना बढ्नेछ ।

हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण तथ्य के भने ओबरमा सहभागितासितै लगानीमात्र बढ्ने होइन, चिनियाँ श्रम, प्रविधि, प्राविधिक, व्यापारका साथै स्वार्थ पनि बढ्नेछ । ओबर निश्चय नै आर्थिक समृद्धि अभिप्राय: अनुरूप प्रस्तावित योजना हो । तर आर्थिक हितको संरक्षकत्वकै निम्ति क्रमश: सैन्यशक्ति बढ्नु, सैनिक छाउनीहरू स्थापित हुनुसितै जलमार्गको सुरक्षार्थ नौ सैनिक अखडाहरू बढ्दै जानुले खासगरी एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी राष्ट्रहरूमा चीनको सामरिक शक्ति हावी हुने सम्भावना पनि रहेको छ । तर युरोपियनसहित चीनले सहकार्य गर्ने ती महादेशीय राष्ट्रहरूको शासकीय व्यवस्थाको प्रकृति भने समान छैन । चीनको साम्यवादी व्यवस्था प्रभावित आचरण र व्यवहार लोकतान्त्रिक मुलुकहरूमा ग्राह्य नहुनु पनि सक्छ । अनि तानाशाहीहरूका लागि सहकार्यको चरणमा अनपेक्षित चुनौती हुनसक्छ । अर्काे कुरा, ओबरमा सहभागी हुने कतिपय मुलुकहरूको सामरिक स्वार्थसित चीनको स्वार्थ बाझ्न पनि सक्छ । दक्षिण–पूर्वी एसियामा यसको झझल्को देखिन्छ पनि । त्यस्तै भारतको ओबरमा (अ) सहभागिताको उदाहरणलाई पनि लिन सकिन्छ ।

ओबर योजना अन्तर्गत चीनले ६ वटा आर्थिक ‘कोरिडोर’को अवधारणा विकसित गरेको छ । त्यसमध्ये चीन–पाकिस्तान आर्थिक ‘कोरिडोर’ (सीपीईसी) र बंगलादेश–चीन–इन्डिया–म्यानमार आर्थिक ‘कोरिडोर’ (बीसीआईएम) हाम्रो क्षेत्रीय सम्बन्धमा बढी सान्दर्भिक छ । बीसीआईएममा सहभागिताको लागि भारत आकर्षित हुने निश्चितप्राय: छ । तर उसले आफ्नो राष्ट्रिय स्वार्थको कारण सीपीईसीको विरोध गर्दै त्यसैले गर्दा ओबर सम्मेलनमा भाग पनि नलिने र सहभागिता नजनाउने भन्दै आएको छ । तर वास्तविकता अलि भिन्नै छ । भारत सहभागी हुनसक्ने बीसीआईएम ओबर योजनाकै दक्षिण–पूर्वी एसियाली क्षेत्र लक्षित ‘कोरिडोर’ रहेको तथ्य कसैबाट लुकेको छैन । जुन चीन–इन्डोचाइना पेनिन्सुला ‘कोरिडोर’ सित गाँसिन पुग्छ । यसले भारतको ‘पूर्व हेर्ने’ नीतिलाई यथेष्ट सघाउँछ । तसर्थ सीपीईसीले भारतको सार्वभौमिकता मिचेको चीनप्रतिको गुनासोकै कारण ओबरमा सहभागी नहुने अडान यहाँनिर अलि अमिल्दो देखिन्छ ।

ओबर योजनामा नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकाजस्ता दक्षिण एसियाली मुलुकहरूको सहभागिता र सहकार्यले यस क्षेत्रको परम्परागत भूराजनीतिक अवस्थिति फेरिनेछ । यसले दक्षिण एसियाली सुरक्षा संरचनाको स्थापित मान्यतालाई तहसनहस गर्नेछ । भारतको अभेद्य शक्तिराष्ट्र हुने लक्ष्य भत्काउनेछ । ओबरमा माथि उल्लिखित मुलुकहरूको सहभागिताबाट साँध जोडिएका निकट छिमेकीहरूसितै भारतले विश्वसनीय सम्बन्ध कायम गर्न असफल रहेको संकेत दिन्छ । दक्षिण एसियामा साना छिमेकीहरूमा प्रभाव घट्नुको कारण चीन होइन, आफ्नै दुर्नीति रहेको भारतले बुझ्न चाहेको छैन । तसर्थ छिमेकीसित सम्बन्ध सुधार नै भारतको निम्ति चुनौती हुनेछ । भारतले नचाहँदा पनि चीन आफ्नो उद्देश्यमा सफल हुँदै गएको दृष्टान्त अन्तिम अवस्थामा आएर ओबर प्रस्तावमा हस्ताक्षर गरी सम्मेलनमा सहभागी हुने नेपालको निर्णयले नै पुष्टि गर्छ । नेपालले वर्षाैंअघि नै ओबरको समझदारी पत्र (एमओयु) मा सहमति जनाए पनि प्रस्ताव स्वीकार्दै हस्ताक्षर गर्न हच्किएको कारण भारतीय दबाब रहेको चीनमा व्यापक बुझाइ छ । नेपालको यस निर्णयले सायद चीनको मानसिकता फेरिनेछ ।

ओबर सम्मेलनमा सहभागी राष्ट्रहरू कसरी प्रस्तुत हुनेछन्, त्यसबारे बुझ्न केही समय कुर्नु नै पर्नेछ । तर अहिले ओबरबारे उठेका थुप्रै जिज्ञासा भने अझै अनुत्तरित नै छन् । त्यस मध्येको एउटा खुल्दुली यो सहभागी राष्ट्रहरू सम्मिलित अन्तर्राष्ट्रिय संगठन हुने हो वा चीनको राष्ट्रिय योजनामात्र हुने हो ? ओबर सम्मेलनमा यसबारे चीनको प्रस्ट दृष्टिकोण आउने अपेक्षा राख्न सकिन्छ । किनभने यो जिज्ञासा चीनभित्रै पनि छ । कतिपय चिनियाँ अध्येयताहरूसमेत ओबरको रणनीतिक भूमिकाप्रति अझै स्पष्ट छैनन् ।

पाठक मञ्च

कोरियाली प्रायद्वीपमा शान्तिको संकेत

‘उत्तर कोरिया जान इच्छुक छु’ नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनको समाचार पढ्दा विश्वमा हुनलागेको खतरालाई केही राहत महसुस भयो । राष्ट्रपतिको सपथ लिए लगत्तैको यो उद्घोषले ताजा विश्व खतरालाई सम्भवत: सम्हाल्छ । उनले प्रमुख समस्याको केन्द्रबिन्दु बन्दै आएको कोरियाली प्राय:द्वीपको विवादलाई सुल्झाउने र समकक्षी उत्तर कोरियासँंग सम्बन्ध राख्न चाहेको बताउनुले सुधारको संकेत अनुमान लगाउन सकिन्छ । राष्ट्रपति मुन जाय–इन आवश्यक परे तुरुन्तै वासिङटन, बेइजिङ र टोकियोसमेत आफू सहज रूपमै जान सक्ने बताउनु साहसी कदम र मित्रवत तरिका ठान्नुपर्छ । उनले प्योङयाङचाहिँ उपयुक्त समयमा मात्र जान सकिने बताएका छन् । विगतमा अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि निर्वाचनपूर्व कोरियाली प्राय:द्वीपको समस्यालाई आफूले सुल्झाउने बताएका थिए । तर सत्ता सम्हालेपछि यो सम्बन्ध झन् भड्काउको स्थितिमा परिणत भयो । उत्तर कोरिया र अमेरिकाको यही स्थिति यथावत रहे युद्ध अवस्यंभावी नै छ । राष्ट्रपति मुन जाय–इनले अमेरिका र चीनसंँग गम्भीर छलफल गरी यो समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको अनुमान गरिन्छ ।

दक्षिण कोरिया–अमेरिका सम्बन्ध सुधारका कारण उत्तर कोरिया–अमेरिका सम्बन्धमा दरार उत्पन्न भएको हो । यस अर्थमा उत्तर कोरियालाई विश्वबाट अलग पार्ने रणनीति अनुरूप विगत केही वर्षदेखि नै संयुक्त राष्ट्र संघमार्फत उत्तर कोरियालाई नाकाबन्दी लगाइएको हो । पछिल्लो समय उक्त स्थितिलाई झन् कडा रूप दिइयो । नाकाबन्दी लगाए पनि उत्तर कोरियाले आफ्नै स्रोतसाधनको उपभोग गरी झन् शक्तिशाली मात्र बनेन कि
आफ्नो प्रतिद्वन्द्वीलाई परास्त पार्नेसम्मको हैसियत बनाएको छ । विश्वबाटै आफूमाथि पर्ने जस्तोसुकै परिस्थितिको सामना गर्न उत्तर कोरिया सक्षम भएको उत्तर कोरियाली शासक किम जोङ बताउने गर्छन् । तसर्थ आफ्नो आमने–सामने दक्षिण कोरिया–अमेरिका गठबन्धन अर्थात संयुक्त सैनिक अभ्यासले उत्तर कोरियालाई चिडचिडाहट हुनु स्वाभाविक हो । विश्वको भडकिँदो गतिविधिलाई अर्को नजरबाट हेर्ने हो भने विश्वमा अमेरिकन रणनीति तानाशाही पनि लाग्छ । किनकि उसले आफूले सैनिक अभ्यास, परमाणु परीक्षण गरे हुने, तर अरूले गरे आफूलाई सह्य नहुने बताउने गर्छ । यस्तो अमेरिकन नीतिले गर्दा विश्व गतिविधि खल्बलिँदैछ । तसर्थ अबको अन्तिम आशाको केन्द्र भनेको नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपतिको उत्तरसँंग सिधा सम्पर्क र चीन, जापान तथा अमेरिकासँंगको कूटनीतिक छलफल हो । अतिरिक्तमा अमेरिकाले पनि आफ्नो नीतिमा सुधार र केही लचकता अपनाउनुपर्ने हुन्छ ।
– चन्द्र मादेन
फुङलिङ नगरपालिका वडा–२, देवलिंगे, ताप्लेजुङ


  • सजग भएर आफ्नो मत प्रयोग गरौं
    बिहीबार प्रकाशित विमल आचार्यको ‘संयुक्त परिवारको धङधङी’ रोचक लाग्यो । हुन पनि २०७२ को संविधानले स्थानीय तहलाई असीमित अधिकार दिएको छ । अबका दिनमा गाउँ र नगरको शासन व्यवस्था सञ्चालन गर्ने काम स्थानीय कार्यपालिकाको हो । विवादास्पद व्यक्तिहरू स्थानीय तहमा निर्वाचित भएर पुगेको खण्डमा गाउँ र नगरको भविष्य नै डामाडोल हुने निश्चित छ । हामी स्वतन्त्र रूपमा निर्णय गर्न सक्षम छौं । अशिक्षित भएरै होला, हाम्रालाई भन्दा राम्रालाई भोट दिने चेतना हामीमाझ अझै नपुगेको सत्य हो । जनतालाई सचेत गर्ने स्वतन्त्र नागरिक समाजको पनि हाम्रो गाउँ र नगरमा अभाव छ । कहिल्यै पुरा नहुने फोस्रा आश्वासन बाँड्दै हिँड्नेलाई भोट दिनु गाउँ र नगरको विकासमा ५ वर्ष पछाडि पर्नु हो । वर्षभरि भ्रष्ट, दलाल, तस्कर भन्ने तर चुनावको मुखमा विभिन्न प्रलोभनमा परि फेरि उसैलाई भोट दिने प्रवृत्तिले हामीलाई नै घाटा पार्छ । इमानदार छ, व्यावहारिक छ, तर सानो पार्टीको छ या स्वतन्त्र रूपमा नै खडा छ भने पनि ‘मान्छे त राम्रै हो, तर जित्लाजस्तो छैन, हार्नेलाई भोट दिएर भोट किन खेर फाल्ने’ भनी नसोचौं । तपाई–हाम्रो १/१ मतले इमानदार व्यक्तिलाई जित्न ठूलो सहयोग पुग्नेछ । कुरा सबैका सुनौं, सबै उम्मेदवारलाई बुझौं, गलत उम्मेदवारलाई सामुन्नेमा प्रश्न गर्न नहिचकिचाऔं । तर भोट समझदार र व्यावहारिक उम्मेदवारलाई हालौं ।
    एसपी बडु
    कृष्णपुर–७, कञ्चनपुर

    १९ वर्षपछि हुनलागेको स्थानीय निर्वाचनले अब युवा विदेश जानुपर्ने बाध्यताबाट मुक्ति पाउने कुरामा आशावादी छन् । स्थानीय निर्वाचनसंँगै गाउँ–गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य, विकास र परिवर्तनको ढोका खुल्ने कुरामा सबै युवालाई आशाको किरण बढाएको छ । तर पछिल्लोपटक केही ठाउँमा भैरहेको विभिन्न दलको कर्याकर्ताको फाटफुट झडप र अप्रिय घटनाले आम नेपालीमाझ शंका पैदा गरेको छ । विशेषगरी निर्वाचन आचारसंहितामा उल्लंघन, विप्लप माओवादी र निर्वाचनसँग असन्तुष्ट, केही मधेसी दलको गतिविधिले केही शंका जन्माएको छ । यद्यपि निर्वाचन हुनुपर्छ । सम्पूर्ण नेपाली विकास र परिवर्तनको पक्षमा छन् ।
    – ज्ञानदीप राई
    छितापोखरी, खोटाङ

    १५ हजार खर्चेर ल्याउन सकिने सामानका लागि निर्वाचन आयोगले २१ लाख रुपैयाँमा सिंगो हेलिकप्टर चार्टर गरेर निर्वाचन आयुक्तद्वय सुधीरकुमार साह र ईश्वरीप्रसाद पौडेललाई मुस्ताङ पठायो । र ६ दिनको फरकमा अर्का आयुक्त नरेन्द्र दाहाल सपरिवार निर्वाचन आयोगकै खर्चमा मुक्तिनाथ घुम्न पुगेको समाचार थाहा पाइयो । निर्वाचन अनुगमनका क्रममा निर्वाचन आयुक्तहरूको मुक्तिनाथ दर्शन र लोमान्थाङ यात्राको साइतसमेत जुर्न पुगेछ । यसले ‘पशुपतिको जात्रा सिध्राको व्यापार’ उखान चरितार्थ हुनपुगेको छ । यात्रा क्रममा आयुक्त दाहाल र संँगै गएका परिवारका सदस्य लगायत ८ जना पाहुनाको स्वागत खर्चसमेत मुस्ताङ निर्वाचन कार्यालयले बेहोरेको रहेछ । जे होस्, निर्वाचन आयोगले दुबै भ्रमणलाई ‘व्यक्तिगत भ्रमण’ नभनी अनुगमन र सुरक्षाकर्मीसँंगको बैठक लगायतको कार्य भनी पुष्टि गरेको छ । के निर्वाचन आयोगको लागि खर्चको दुरुपयोग सम्बन्धी आचारसंहिता लागु हुँदैन र ?
    – महेन्द्रसिंह बम
    टीकापुर–१, कैलाली

    ‘जनयुद्ध’बाट अपार र अमूल्य धनजनको क्षति भयो । शोक र पीडामय मुलुक विकासमा धेरै पछाडि पर्‍यो । दुई–दुईपटक संविधानसभाको चुनाव भयो । त्यसबाट पनि देशको सम्पत्तिको ठूलो हिस्सा सकियो । संविधानसभाको ठूलो सङ्ख्यालाई लिएर पनि आलोचना भइआएकै हो । पछिल्लो पटक संविधानसभा नाम परिवर्तन भएर संसद्मा रूपान्तरित भए पनि सांसदको सङ्ख्या घटेको छैन । यसबीच पूर्व विशिष्टहरूलाई सुविधा दिने कुराले राष्ट्रप्रेमी नेपालीको टाउको दुखेको–दुखेकै थियो । मन्त्रालय र मन्त्रीहरूको सङ्ख्या बढ्दा त्यो दुखाइ झनै बढ्यो । अहिले स्थानीय तहको चुनाव हुँदै गर्दा त्यसका पदाधिकारीलाई तोकिएको भत्ताको अंक सुन्दा फेरि पीर लाग्न थालेको छ । एक त माथिकाले तोकिएको सुविधाले नपुगी मह काड्दै हात चाट्दै र औंलो बङ्ग्याएर घ्यु निकाल्दै गरेको अवस्थामा तलका प्रतिनिधिलाई पनि पो भत्ता † हैन, राजनीतिलाई त समाजसेवा पो भन्ने गरेको सुनिन्थ्यो । अब यसलाई पेसा बनाउन थालिएको हो कि क्या हो ? अब तिनीहरूका सुविधाका लागि हामी गरिबकै ढाड खुस्काउने कर तोकिने होला । आफ्नो हात जगन्नाथ † यस्तै पारा हो भने अब विस्तारै आम मानिसको रुचि खालि राजनीतिमा मात्रै बढेर यो देशमा त खालि अल्छे र कामचोरहरूको तँछाड–मछाड र बिगबिगी नै हुने सम्भावना देखिन्छ ।
    – इन्द्रकुमार श्रेष्ठ
     कमलाकुञ्ज, ओखलढुंगा

    चुनावी हिंसामा दोलाखा जिल्लामा एकजना नेपालीको ज्यान गएको समाचार आएको छ । इतिहासले के देखाएको छ भने कमजोर मनस्थिति भएकाहरू र तर्क र विचारले जित्न नसक्नेहरू हमेसा हिंसाको बाटो अवलम्बन गरिरहेका हुन्छन् । चुनाव विचारको लडाइँ हो । इमान र नैतिकताको अग्निपरीक्षा हो, चुनाव । यद्यपि चुनावलाई अनेक प्रलोभनको उत्सवका रूपमा मनाउने प्रचलन अझै कायम छ, हाम्रो सन्दर्भमा । रक्सी र मासुले रंगिन बनाउंँदै विचारले भन्दा पनि शक्तिले चुनावलाई आफ्नो पक्षमा पार्नेहरू अझै यत्रतत्र भेटिन्छन् । जनतालाई राजनीतिक कित्तामा भागबन्डा गर्दै ‘मेरो आधार क्षेत्र’ भन्ने घमन्डमा राजनीतिक दलहरू रुमलिनु विडम्बना हो । निषेधको राजनीति र क्रोधले दिग्भ्रमित तुल्याएका मनहरू जब राजनीतिको मियो समात्न पुग्छन्, उनीहरूको मनमस्तिष्कमा सवार हुने राक्षसी प्रवृत्ति अन्तत: हिंसाका रूपमा उम्लन थाल्छ । इतिहास साक्षी छ, हिंसाको बलमा माथि उठेका राजनीतिक प्रवृत्ति कदापि जनताको भरोसाका रूपमा स्थापित हुन सकेनन् । जनताको भरोसा बन्न नसकेकाहरू हिंसाकै सहारामा कृत्रिम राजनीतिक कित्ता कोर्न उद्यत रहन्छन् । दोलखा जिल्लाको दुगुमा भएको हिंसा यसैको एक प्रतिनिधि घटना हो । देशका एकजना होनहार युवा मारिएका छन् । केका लागि उनलाई मारियो ? त्यो कस्तो राजनीतिक क्रोध थियो, जसले एकजना व्यक्तिको हत्या गर्ने अवस्था सिर्जना गर्‍यो ? एकजना व्यक्तिको हत्या गरेर कसले के जित्यो ? चुनाव प्रचारमा हिँंडेको मान्छेलाई मार्नुपर्ने कारण के थियो ? सायद यसको जवाफ कसैसँंग छैन ।
    उत्तम पुडासैनी
    जोरपाटी, काठमाडौं

    आइतबार ३४ जिल्लामा स्थानीय तहको निर्वाचन हुन गैरहेको छ । अधिकांश मतदाता मत खसाल्न उत्सुक र ब्यग्र पनि छन् । तर कतिपय हे जो आए पनि उही त हो नि, किन खसाउन जाने, बरु घरमै म्यारिज खेलेर बस्ने भन्नेहरू पनि छन् । यो गलत हो । मतदाताको सक्रियताले नै राजनीतिक दलहरूलाई सही ठाउँमा ल्याउन मद्दत गर्छ । मतदान गर्नु भनेको दलहरूलाई दण्ड र पुरस्कार दिने काम हो । यो मौकालाई खेर फाल्नु हुँदैन । बढीभन्दा बढी मतदान गरेर नेपाली आफ्नो हक–अधिकारप्रति सचेत र प्रतिबद्ध छन् भनी विश्वलाई सन्देश दिन सक्नुपर्छ । यसको लागि सबैले अल्छी नगरी मतदान गर्नुपर्छ । यसपालीको भोट कसलाई र किन ? आउने आइतबार भोट नखसाएसम्म सबै मतदाताको मनमा उठ्ने प्रश्न हो यो । पार्टीप्रति प्रतिबद्धहरूले त आँखा चिम्लेर आफ्नै पार्टीको उम्मेदवारलाई हाल्छन् नै, तर जितहारको लागि ‘किङ मेकर’ रहेको तटस्थ मतदाताले कसलाई हाल्ने हुन् ? त्यो महत्त्वपूर्ण हुनेछ । काठमाडांैमा नानीमैया आउनु र दिल्लीमा अरविन्द केजरीवाल उदाउनु तटस्थ मतदाताको कामले हो । निर्दलीय व्यवस्थामा अनुहार हेरी भोट हालिन्थ्यो । तर अहिले बहुदलीय व्यवस्था छ, जहाँ व्यक्ति गौण र पार्टी मुख्य हुने गर्छ । यसर्थ यसपाली आत्मियता र अनुहार होइन, पार्टीहरूको घोषणापत्र र उक्त पार्टीले देशको समसामायिक मुद्दामा लिएका नीति र अडान हेर्नु आवश्यक छ । तालमेललाई हेरेर होइन, विवेकलाई प्रयोग गरेर भोट दिउँ ।
    – गोपाल दवकोटा
    गोकर्णेश्वर–८, जोरपाटी, काठमाडौं

    १९ वर्षपछि बल्ल–बल्ल हुनलागेको निर्वाचनमा सबैको सहभागी हुनु राम्रो हो । चुनावमा हारजित हुनु स्वाभाविक हो । एकले जित्छ, अर्कोले हार्छ । सबैले जित्ने त हुनै सक्दैन । जित्नेले मैले संसार जितेँ भन्ने सोच्नु पर्दैन भने हार्नेले मेरो संसार नै गयो भन्ने सोच्नु पर्दैन । जनताको मन जसले जितेको छ, उसैले चुनाव जित्छ र जनप्रतिनिधि बन्छ, यसमा विरोध गर्नुपर्ने नै छैन । डाहा गरेर हुन्छ ? तिमी राम्रो काम गर, अर्काेपटक जनताले तिमीलाई नै रोज्नेछन् । कसैलाई डर, त्रास, धम्की, लोभ–प्रलोभन देखाएर चुनाव जित्न खोज्नु गलत हो । पैसाको भरमा जितेको चुनावले भ्रष्टाचार नै बढाउँछ । त्यसैले सबै मतदाताले सोच्ने बेला आएको छ, कसलाई स्थान दिने– भ्रष्टाचारीलाई कि विधिको शासनलाई ? हाम्रो जिम्मेवारी छ, हामीले राष्ट्रबारे सोच्नुपर्छ । असल नेता चुनेर गाउँ र देशको मुहार फेर्ने जिम्मेवारी छ, हाम्रो काँधमा । बेलैमा सोचौं ।
    पुरुषोत्तम घिमिरे
    जोरपाटी, काठमाडौं

    वैशाख ३१ गते हुन गइरहेको पहिलो चरणको चुनाव सरकारले निष्पक्ष, धांँधलीरहित, स्वतन्त्र ढंगले सम्पन्न गराउने जनाए तापनि दोलखामा चुनाव प्रचार–प्रसारकै क्रममा एमालेका कार्यकर्ताको ज्यानै जानेगरी मैदानमा उत्रिनुले सरकारले शान्ति सुरक्षा आम नागरिकलाई दिन नसक्ने र शान्ति सुरक्षा प्रदान गर्न नसकेको स्पष्टै भएको छ । हालै मात्र निर्वाचन प्रचार–प्रसारकै क्रममा दोलखा लगायत विभिन्न स्थानमा कांग्रेस–एमाले, एमाले–माओवादी केन्द्रबीच भएको झडपले मुलुकमा शान्ति, स्थायित्व दिन सक्दैन । स्थानीय निर्वाचनमा समेत सरकारले शक्तिको नाममा अन्य दलका नेता, कार्यकर्तामाथि सुनियोजित रूपमा प्रहार गर्नु, निषेधको राजनीति गर्नु सकारात्मक मान्न सकिंँदैन । विचारको आधारमा राजनीति गर्न सबै दलले सिक्नुपर्छ ।

    आफ्ना कार्यकर्तालाई आफ्नो काबुभित्र राख्न नसक्ने दलले आम मतदाताको कसरी मन जित्न सक्छन् ? दोलखा घटनाको नेपाल सरकारले निष्पक्ष ढंगले न्यायिक छानबिन आयोग गठन गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गरोस् ।
    – न्हुंछेनारायण श्रेष्ठ
    पुलचोक, ललितपुर

    यस पटकको स्थानीय तहको निर्वाचनमा मतदातामा केही अन्योल देखिएको छ, त्यो हो– चुनाव जितेपछि फेरि फर्केर गाउँ आउंँदैनन् । हुन पनि किन नहोस्, पछिल्लो पिढीले संसद्, व्यवस्थापिकाजस्ता चुनावमात्र देखे, त्यसैगरी पुरानो पिढीले पनि स्थानीय चुनाव बिर्सिसके । जसले चुनाव जितेपछि गाउँ नफर्कने कसम खाएझैं गरे । यसो हुनु स्वाभाविकै हो, अस्वाभाविक र गर्नै नसकिने आश्वासन जो बाँडेका थिए । तर अहिलेको अवस्था त्योभन्दा नितान्त भिन्न छ । अहिले त सहर बस्नेलाई गाउँ ल्याउने चुनाव हो । संविधान र कानुनले स्थानीय तहलाई दिएको अधिकार र त्यसले पालना गर्नुपर्ने कर्तव्य यति धेरै छन् कि स्थानीय जनताको उन्नति र प्रगतिका अतिरिक्त सबै घरधुरीको दैनिक दिनचर्यासँग सम्बन्धित सेवामूलक कामसमेत प्रशस्त छन् । यी काम सम्पादन गर्न उदासीन हुने पदाधिकारी वा सदस्यले जनआक्रोश थेग्न यति कठिन हुन्छ कि उनीहरूले
    आफ्नो कार्यकाल पनि पुरा गर्न नसक्ने अवस्था आउन सक्छ । यस मामिलामा जनता र जनप्रतिनिधि समयमै सजग हुनु परिस्थितिकै अनिवार्य माग भएर उभिएको छ ।
    गणेश ज्ञवाली
    मिनभवन, काठमाडौं

    चुनावी वातावरणले सहरलाई सामान्य छोए पनि गाउँलाई भने राम्रैसित छोएको छ । चार्डपर्वमा मात्र गाउँमा चहलपहल हुने तर चार्डपर्व सकिनासाथ फेरि गाउँ सुनसान हुन्थ्यो । तर अहिले चुनावले गर्दा गाउँमा चहलपहल बढ्दो छ, पार्टीको झण्डाले गाउँ सिङ्गारिएको छ । सबैको घरको छानोमा दलको झण्डा फरफराइरहेको छ । अभिमत प्रयोग गर्न वा आफ्नो पार्टीलाई जिताउन गाउँ, पहाड जानेको लर्को पनि त्यतिकै छ । कतै दल–दल मिलेर सँंगै जनताको घरदैलोमा पुगेका छन् भने कतै एकअर्काप्रति आक्रामक पनि बनेका छन् । यस्तै दोलखामा भएको घटनाले दल–दल बीचमा दूरी बढाएको छ । अर्को पक्ष भनेको दिनभरि चुनावी प्रचारमा लाग्ने र साँझमा मदिरा सेवन गर्नाले पनि सामाजिक वातावरण विथोलिएको छ । त्यसैले निर्वाचन अघिदेखि नै सम्पूर्ण मदिरा पसललाई एक हप्ताको लागि भए पनि बन्द गर्नु अति जरुरी छ । किनभने विवाद यही मदिराको कारणले उत्पन्न भई अन्त्यमा हिंसात्मक गतिविधि हुने हुनाले शान्ति सुरक्षाको लागि मदिराको बिक्री–वितरण तथा सेवनलाई निषेध गर्नु आवश्यक छ ।
    प्रमोद पौडेल
    श्रीपुर–१४, वीरगन्ज
  • कच्ची सडकको दुरवस्था
    करिब दुई दशक अघिदेखि निर्माण गरिएका कच्ची सडकको स्तरोन्नतिका लागि हालसम्म करोडौं बजेट खन्याई सकियो होला । तर सडकको दुर्दशा करिब–करिब उस्तै छ । हिउँदमा मोटर गुडे पनि हाल्ने पानी वर्षने बित्तिकै गाडी नगुड्ने । बरु स्थानीय टाठाबाठा राजनीतिक नेताहरूलाई हिउँदमा सडक मर्मतको नाममा जिविसबाट लाखौंको बजेट विनियोजन गर्न लगाउने, यसो दुई–चार दिन डोजर लगाएर खाल्डाखुल्डी पुरपार पार्ने, बजेटको केही प्रतिशत खर्च गरेर नक्कली खर्चको बिल पेस गर्ने र मिलेमतोमा आफ्नो भुँडी भर्ने काम गर्न सजिलो भइरहेको अनुमान गर्ने ठाउँ देखिन्छ । यसबाट उनीहरू गाउँमा विकास मैले ल्याएँ भनेर नाक फुलाउँदै जनतामा भ्रम छर्न पनि सफल भएका छन् । साथै हिउँदमा खाल्डाखुल्डी पुरपार पार्ने वर्षापछि पुरेको माटो बगेर उही हालतमा पुग्ने हुँदा स्थानीय टाठाबाठाको लागि यो बाटो हरेक वर्ष बजेट कुम्ल्याउने दुहुनु गाईजस्तै भइरहेको देखिन्छ ।
    ऋषि सापकोटा
    भीमसेन–८, गोरखा
  • बिदा घोषणा गरोस्
    पहिलो चरणको स्थानीय निर्वाचन प्रदेश नं. ३, ४ र ६ अन्तर्गत पर्ने ३४ जिल्लाका सबै सरकारी, अर्धसरकारी र सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अघिल्लो दिन साप्ताहिक बिदा परेको, त्यसभन्दा अघिल्लो दिन साप्ताहिक आधा दिन बिदा परेको हुँदा निर्वाचन हुने प्रदेशहरू र जिल्लाहरूमै रहनेहरूलाई निर्वाचनको उत्सवमा उत्साहित भएर गोप्य मतदान प्रक्रियाबाट आफ्नो मत जाहेर गर्न प्रशस्त समय दिएको छ । तर उक्त प्रदेश र जिल्लाका मतदाता रोजगारीको सिलसिलामा उक्त प्रदेशहरू र जिल्लाहरू बाहिर ठूलै संख्यामा छन् । ती मतदाताले कसरी संविधानले प्रदान गरेको अधिकार प्रयोग गर्लान् ?

    आफ्नो मतदाता नामावली प्रदेश नं. ३ मा छ, रोजगारी प्रदेश नं. १ मा छ भने ऊ कसरी मतदानमा सहभागी हुन सक्ला ? निर्वाचनका दिन सबै प्रदेश र जिल्लामा सार्वजनिक बिदा दिने हो भने प्राय: सबैले मतदानमा सहभागी हुन्थे । जेठ ३१ मा हुने निर्वाचनका सम्पूर्ण जिल्लाका अत्यधिक मतदाता काडमाडांैमा छन् । उक्त दिन सरकारले काठमाडौंमा सार्वजनिक बिदा दिएन भने मतदाताले मत दिन पाउँदैनन् । अप्रत्यक्ष रूपमा वैशाख ३१ र जेठ ३१ हुने निर्वाचनमा मतदाताको सहभागिता कम गराउन सरकार आफै उद्यत भएको प्रस्ट देखिन्छ । सरकारले निर्वाचन हुने दुबै दिन देशभर सार्वजनिक बिदा दिएर यो निर्वाचनको उत्सवमा सबैतिर छरिएर रहेका मतदातालाई सहभागी गराउनुपर्छ, तब मात्र निर्वाचनको अर्थ हुन्छ ।
    कृष्णप्रसाद घिमिरे
    बराह न.पा–७, सुनसरी
Page 7
विविधा

मतदानमा वञ्चित नेपालीका पक्षमा

- विनोद चौधरी

हामी स्थानीय निर्वाचनको संघारमा छौं । २० वर्षपछि आफ्ना प्रतिनिधि छान्नका लागि आम नेपाली आतुर छन् । यससँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने बाटामा हामी अगाडि बढेका छौं । यो आफैंमा सुखद् पक्ष हो । तर निर्वाचन नजिकिँदै गर्दा मलाई एउटा पक्षले भने निकै झकझकाइरहेको छ । गणतन्त्र नेपालको स्थापनापछि पहिलोपटक हुन लागेको स्थानीय निर्वाचनको यस अभियानमा नेपाली जनताको एउटा ठूलो पंक्ति छुट्दै छ, जो नेपालको आर्थिक समृद्धि र सामाजिक परिवर्तनका लागि आशाको दियो पनि हो ।

विश्वभर छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएन) र रोजगारीका लागि बिदेसिएका नेपालीलाई मताधिकारको अधिकारबाट वञ्चित गरिनु उचित होइन । कुल मतदाताको करिब २५ प्रतिशत मतदातालाई मतदानको दायराभन्दा बाहिर राखिनुलाई कुनै मानेमा पनि सही निर्णय मान्न सकिँदैन । यो नेपालबाहिर रहेका करिब ६० लाख आफ्ना नागरिकमाथि राज्यले गरेको भेदभावपूर्ण व्यवहार हो ।

लोकतन्त्र सुदृढीकरणको पहिलो सर्त आम नागरिकको जीवनस्तरमा सुधार हो । यसको अर्थ नेपालको आर्थिक विकास र सामाजिक रूपान्तरणका पक्षमा लहर सिर्जना गर्नु हो । लोकतान्त्रिक शासन व्यवस्थामा यसको नेतृत्व निर्वाचित जनप्रतिनिधिहरूले गर्छन् । त्यसैले आगामी निर्वाचनमा निर्वाचित हुने जनप्रतिनिधि आर्थिक विकास र सामाजिक रूपान्तरणका पक्षमा संवेदनशील व्यक्ति हुनु जरुरी छ । यदि निर्वाचित हुने जनप्रतिनिधिहरू आफैं यसबारेमा अलमलमा छन्, प्रस्ट बुझेका छैनन् र हिजोका दिनमा जस्तै निर्वाचन जित्नु र कार्यकाल बिताउनु नै उपलब्धि हो भन्ने बुझाइ भएकाहरू छन् भने हामीले अर्को पाँच वर्ष खेर फाल्नेछौं ।

नेपालबाहिर रहेका नेपालीप्रति मेरो सबभन्दा ठूलो विश्वास के हो भने उनीहरूले विदेशको विकास देखे/भोगेका छन् । विकास कसरी गर्नुपर्छ भन्ने प्रत्यक्ष अनुभव गरेका छन् । राज्य नागरिकहरूप्रति कति उत्तरदायी हुनुपर्छ भन्ने ज्ञान उनीहरूमा छ । देशको विकासमा योगदान पुर्‍याउन चाहने लगानीकर्ताहरूलाई राज्यले कस्तो वातावरण बनाइदिनुपर्छ भन्ने उनीहरूले देखेका छन् । नयाँ सोच कार्यान्वयन गर्न चाहनेका लागि राज्य कसरी अभिभावक बनेर उसलाई प्रोत्साहन र संरक्षण गर्छ भन्ने प्रत्यक्ष अनुभव सँगालेका छन् । जनप्रतिनिधि विकासप्रति संवेदनशील हँुदा देशले कुन तहको सकारात्मक नतिजा प्राप्त गर्न सक्छ भन्ने नेपाली विज्ञ तिनै एनआरएनहरू नै हुन् । त्यसैले मतदानको अधिकार दिइएको भए उनीहरू नेपालमा यस्तै उम्मेदवारहरूका पक्षमा लहर सिर्जना गर्थे र ती उम्मेदवारलाई निर्वाचित गराउन उनीहरूको विशेष योगदान रहन्थ्यो । एनआरएनलाई राजनीतिक अधिकारसहितको दोहोरो नागरिकता उपलब्ध गराइनुपथ्र्यो/गराइनुपर्छ भन्ने मेरो मान्यता यसकै लागि हो ।

मलाई थाहा छ, नेपालका युवा जसले यस निर्वाचनमा पहिलोपटक मताधिकार प्रयोग गर्दै छन्, उनीहरूको पहिलो चाहना पनि आफूहरूलाई नेतृत्व गर्न सक्ने उम्मेदवार खडा होस् भन्ने छ । यो पुस्ताले प्रस्टसँग के बुझेको छ भने नेपाल आर्थिक विकासमा ठूलो सम्भावना बोकेको देश हो तर विकासलाई केन्द्रमा राख्न नसक्ने राजनीतिक नेतृत्वका कारण आफ्नो भविष्य धरापमा पारिँदै छ । यदि आर्थिक विकासलाई डोर्‍याउने इच्छाशक्ति भएको राजनीतिक नेतृत्व प्राप्त भएमा पाँच वर्षमै नेपालले ठूलो फड्को मार्न सक्छ भन्ने कुरा यो पुस्ताले राम्रोसँग बुझेको छ । तर, यस पक्षमा बेवास्ता गरिए आफूहरू पनि एनआरएन बन्न बिदेसिनुको विकल्प छैन भन्ने उनीहरूलाई लागेको छ ।

विदेशमा रहेका आम नेपालीले बुझेको कुरा पनि यही नै हो । देशले आर्थिक विकासलाई केन्द्रमा राख्ने राजनीतिक नेतृत्व नपाउँदा आफूहरू बिदेसिनु परेको हो भन्ने कुरामा उनीहरू द्विविधामा छैनन् । डीभी परेर अमेरिका पुगेका, रोजगारीको खोजीमा खाडी मुलुक जानुपरेका वा अध्ययनकै लागि युरोप वा अन्य विकसित मुलुकमा गई उतै बस्नुपरेका नेपाली सबैको बुझाइ एउटै हो– यदि देशले आर्थिक विकासप्रति संवेदनशील राजनीतिक नेतृत्व पाउँथ्यो भने आफूहरू यसरी विदेशमा बस्नुपर्ने थिएन ।

नेपाली युवापुस्ता कम्तीमा आफूहरू गुजाराका लागि बिदेसिनु नपरोस् भन्ने चाहन्छन् भने नेपालमा आर्थिक विकासका पक्षमा यस्तो वातावरण तयार होस्, जसका कारण उनीहरू मातृभूमिमै फर्कन पाऊन् । मलाई लाग्छ, उनीहरूको यो चाहना हामी नेपालभित्र बस्ने नेपालीले मात्रै पूरा गर्न सक्दैनौं । किनभने हाम्रो विचार, सोचाइ, बुझाइ र गराइको परम्परालाई त्याग्न सक्दैनौं । हामी नेपालमा बस्नेबाटै उनीहरूको भावनालाई सही अर्थमा प्रतिनिधित्व गर्न सक्ने लक्षणहरू एकदमै कम छन् । त्यसैले उनीहरूको यो चाहना पूरा गर्न विदेशमा रहेका नेपालीलाई नै मताधिकारको व्यवस्था हुनुपर्छ अनि मात्र परिवर्तनको नयाँ आभास दिन सकिनेछ ।

एनआरएनहरू समृद्ध नेपाल निर्माणका लागि योगदान पुर्‍याउँछु भनिरहेका छन् । तर, हामी देशभित्रै बस्नेहरू ‘भो–भो, पर्दैन’ भनिरहेका छौं । जब नेपालमा जति पनि सकारात्मक परिवर्तन हुनेछन्, त्यसको उपभोगकर्ता हामी यहीं बस्ने नै हौं । नेपालमा विकास हुँदा त्यसको उपभोग अमेरिका वा जर्मनीमा बस्ने नेपालीले गर्ने त होइन । तर, उसलाई गर्व हुन्छ कि– आफ्नो देश पनि विकासको पथमा लम्किँदै छ र हामी विश्वको एक गरिब देशका नागरिक हौं भन्ने परिचय बदलिँदै छ । यसो गर्दा नेपाललाई के बेफाइदा हुन्छ ?

एनआरएनहरूलाई राजनीतिक अधिकारबिनाको दोहोरो नागरिकताको व्यवस्था गरिनुका पछाडि उनीहरू नेपालप्रति भन्दा विदेशप्रति लगाव राख्छन् र दीर्घकालमा राष्ट्रिय स्वार्थमा नकारात्मक असर पर्छ भन्ने दलिल पेस गरिन्छ । वास्तवमा यो सही तर्क होइन । उनीहरू चाहे अमेरिका बसून्, बेलायत वा अन्य देश, उनीहरूको मन–मस्तिष्कमा नेपालप्रतिको अपार ममता झल्किरहेको छ । देशभित्र बस्दैमा नेपालको माया हुने तर बाहिर बस्दैमा सकिने भन्ने हुँदैन । बरु, देशभित्रै बस्ने नेपाली केही यस्ता अनुहार हाम्रासामु छन्, उनीहरू नेपालको राजनीतिक एवं आर्थिक आधिपत्य कमजोर पार्न विदेशीको इसारामा काम गर्छन् । नेपालमा बस्दैमा राष्ट्रप्रेमी हुने र विदेशमा बस्दैमा कोही नेपाली राष्ट्रको अहितमा रहने भन्ने विश्लेषणामा कुनै तुक छैन । मेरो अनुभवमा गैरआवासीय नेपालीहरूमा नेपालप्रतिको प्रेम, सद्भाव र समृद्ध नेपाल निर्माणप्रतिको लगाव झनै बढी छ।

एनआरएनहरूलाई मतदानको अधिकार दिन अहिले संवैधानिक समस्या थियो भन्ने तर्क गरिन सक्छ । तर एनआरएनलाई छाड्ने हो भने विदेशमा रहेका झन्डै ५० प्रतिशत नेपाली मतदातालाई यो अधिकारबाट वञ्चित गरिँदै छ, जोसँग नेपाली नागरिकता/पासपोर्ट मात्रै छ । केही समय रोजगारीका लागि उनीहरू विदेश गएका हुन् । उनीहरूले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई चलायमान बनाएको छ । उनीहरू ५/७ देशमा मात्रै छरिएका छन् । ती देशका नेपाली राजदूतावासहरूमा मतदानको व्यवस्था मिलाएर पनि उनीहरूलाई सजिलै समेट्न सकिन्थ्यो । अहिलेको सूचना प्रविधिको युगमा कुनै सामान्य प्राविधिक कारण देखाएर उनीहरूलाई मतदानजस्तो महत्त्वपूर्ण अधिकारबाट वञ्चित गरिनु उचित थिएन । विषम परिस्थितिमा काममा खटिएर पनि नेपालको कुल गार्हस्थ उत्पादनमा झन्डै ३० प्रतिशत योगदान पुर्‍याउने यो वर्गलाई मतदानमा सहभागी हुनबाट वञ्चित गर्नु भनेको अन्याय नै हो ।

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिइनुपर्छ भनिरहँदा म के भनिरहेको छैन भने नेपालका राजनीतिक दलहरू विकासविरोधी हुन् र उनीहरूले विकास गर्न नचाहने कार्यकर्तालाई उम्मेदवार बनाइरहेका छन् । मलाई थाहा छ, हाम्रा दलहरू विकास गर्न चाहन्छन् । तर, चाहना राख्नु र त्यसलाई कार्यान्वयन गरेर देखाउनु फरक कुरा हो । मैले नियालिरहेको छु…, जब नेताहरू उम्मेदवार चयन गर्न बसे, उनीहरूमाथि आन्तरिक दबाब सुरु भयो । को–कति वर्ष जेल परेको हो ? कति वर्ष पुरानो पार्टी सदस्य हो ? अहिलेसम्म के–के अवसर प्राप्त गर्‍यो ? उसलाई उम्मेदवार नबनाउँदा विद्रोह पो गर्ने हो कि ? यी सबैपछि उम्मेदवारको सबैभन्दा ठूलो योग्यता ऊ आफ्नो गुटको हो कि होइन भनेर टुंगियो । यदि एनआरएनसहित विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिइएको भए दलहरूले उम्मेदवार चयन गर्नुअघि एकपटक बाध्य भएर सोच्नुपर्ने थियो कि हाम्रा उम्मेदवारलाई विदेशको विकास देखे/भोगेका मतदाताहरूले भोट हाल्छन् कि हाल्दैनन् ? उनीहरूको चाहना प्रतिनिधित्व नभएको उम्मेदवारले चुनाव जित्न सक्दैन, त्यसैले यसतर्फ ध्यान दिनुपर्छ भन्ने माहोल तयार हुन्थ्यो । र, दलहरूले आफ्ना कार्यकर्तामध्येबाट विकासप्रति प्रतिबद्ध र स्पष्ट दृष्टिकोण भएकाहरूलाई प्राथमिकता दिने थिए । यो अवस्थामा सबै दलबाट असल र राम्रा उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुने वातावरण बन्थ्यो । तर, नेपालबाहिर रहेका नेपाली मतदाता नरहेको अवस्थामा दलहरूले यो पक्षमा उपेक्षा गर्न सजिलो भयो ।

तर पनि यस निर्वाचनमा युवा पंक्तिले सक्षम उम्मेदवारका पक्षमा मतदान गरी दलहरूलाई यो बाटामा हिंड्न दबाबपूर्ण अवस्था सिर्जना गर्ने संकेतहरू भने देखिएका छन् । नयाँ सोच र विश्वमा आइरहेको सकारात्मक परिवर्तनको लहरलाई देखिरहेका युवाले पक्कै पनि आफ्ना बाबुआमा वर्षौंदेखि कुनै राजनीतिक दलमा विश्वास राख्थे भनेर उनीहरूप्रति आज्ञाकारी बन्ने छैनन्, स्वविवेक प्रयोग गर्नेछन् ।

विविधा

महान् पर्व

- मेदिनीकुमार केवल

यतिखेर निर्वाचनको महान् पर्व नजिकिँदैछ । हिमाल, पहाड, तराईका गाउँघर, सहर जताततै उल्लासमय आकृति सर्वत्र देख्न पाइन्छ । झन्डै दुई दशक लामो अन्तरालपछि जनतालाई आफ्नो मताधिकारद्वारा जनप्रतिनिधि छनोट गर्ने अवसर जुरेको छ र मताधिकार प्रयोगका खातिर आतुर र व्याकुल छन् ।
लोक अर्थात् जनता, तन्त्र याने शासन चलाउन अनेक दल सक्रिय रहन्छन् र विधि, पद्धति एवं कानुनमा बाँधिएका हुन्छन् । तिनलाई व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकाका अधीनस्थ रही आफ्ना गतिविधि वा समाज र राष्ट्रमा उपस्थिति जनाउने गर्छन् । यसरी दलहरूलाई अनुशासन, नियन्त्रण तथा बन्धनमा राखिएको हुन्छ । थरी–थरीका राजनीतिक दल हुन्छन् । तिनले आफ्ना निश्चित उद्देश्य एवं एक निश्चित सिद्धान्त, चिन्तन वा दृष्टिकोण जनमानसमा सम्प्रेषण गर्ने गर्छन् । उनीहरू राष्ट्र तथा समाजप्रतिको कर्तव्य बोध गरी प्रस्तुत हुने गर्छन् र शासन सत्ताको महत्त्वपूर्ण भूमिका निर्बहनको जिम्मेवारी तिनै राजनीतिक दलको काँधमा रहेको हुन्छ ।

आजको युग लोकतन्त्र र प्रविधिको युग हो । पारस्परिक अस्तित्व बोध, सम्वाद र समाधानको युग हो । शदियौंदेखि चल्दै आएको यहुदी र फिलिस्तिनी टकराव र चार दशकभन्दा बढी समयदेखि चलिआएको इजरायल पीएलओ बीचको वैमनस्यता र लडाइँ श्रींलकामा ३ दशकसम्म चलेको जातीय युद्धले पनि समाधानको दिशा पक्रियो । यस्तै नेपालमा दस वर्षसम्म चलेको माओवादी युद्ध र दलहरूको अग्रगामी सोचले संविधानसभाको निर्वाचन र लोकतान्त्रिक गणराज्यसमेत स्थापना गरायो । संविधान निर्माण हालसालै हासिल भएको अभूतपूर्व उपलब्धिको ऐतिहासिक दस्तावेज हाम्रा अघिल्तिर घामभैंm छर्लङ्ग छ । प्राप्त उपलब्धिको रक्षार्थ स्थानीय निर्वाचन संविधान कार्यान्वयनको पक्षमा महत्त्वपूर्ण पाटो मानिन्छ ।

राष्ट्र र समाजको आर्थिक, सांस्कृतिक, राजनीतिक, सामाजिक उत्थानमा यो निर्वाचन कोशेढुंगा सावित हुनेछ । यहाँ निर्वाचन विरुद्ध हामीले विषवमन गर्नु भनेको जनताको उन्नति तथा समृद्धिप्रतिको कुचेष्टा र प्रतिगामी नियत हो । यसरी विभाजित हुनुको अर्थ जनताले बढीभन्दा बढी दु:ख पाउनु, राज्य अस्थिर रहनु र संक्रमणमा अल्झिरहनु हो । यस्तो गतिहीनता किमार्थ पनि राम्रो होइन । राजनीतिका नाममा अहंकारयुक्त तथा व्यर्थको अभ्यास गर्नु कुनै अर्थमा उचित हुन्न । सम्वाद, सहमति लोकतन्त्र र लोकमान्यताको लहर विश्वभरि नै चलेको छ । त्यस्तो उत्कृष्ट राजनीतिक संस्कार एवं संस्कृति नेपालका लागि हितकर हुने देखिन्छ । इतिहासका अनेक उदाहरणबाट शिक्षा लिनु जरुरी छ ।

अधिकाधिक राजनीतिक दल चुनावी गतिविधिमा सामेल भइसकेका छन् । पारस्परिक विश्वास र चुनावी वातावरण निर्माण भएको छ । लोकतन्त्रका लागि आवश्यक पर्ने परम्परा बसाल्ने थितिलाई अगाडि बढाउन सफलता मिलेको छ, जुन नैसर्गिक जनताको मतदानको अधिकार हो, त्यो अभ्यास हँुदैछ । यो निर्वाचनको माहोलले जनमानसमा सन्तुष्टिको सञ्चार गराएको छ । यो सफल अभ्यासलाई चुनावी महायज्ञले छिनोफानो गरिदिने निश्चितप्राय: छ । यस अतिरिक्त शान्ति एवं समृद्धिको दैलो उघारिदिने आशा एवं विश्वास आमरूपमा जागृत भएको छ ।

यतिखेर राजनीतिक दलहरूसामु परिवर्तन र प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी एकातिर छ भने अर्काेतिर आ–आफ्नो दलको अस्तित्व बचाउनुपर्ने अभिभारा पनि त्यत्तिकै छ । यसै ध्येयसाथ उत्साह बटुलेर दलहरू निर्वाचनमा होमिएका छन् । नेपाली राजनीतिमा यति ठूलो परिवर्तन हुँदाहुँदै पनि अनेकौं सपना निर्वाचनले बोकेको छ । चाहे स्थानीय निर्वाचन होस् वा प्रादेशिक र केन्द्रीय निर्वाचनमा यिनै अन्तरवस्तु लुकेको छ । संविधानमा व्यवस्था गरिएका अग्रगामी व्यवस्था र नेपाली समाजमा विद्यमान राजनीतिक, आर्थिक एवं सामाजिक अन्तरविरोधको उचित व्यवस्थापन र समृद्धिको साझा यात्रा व्यवस्थित तुल्याउन यो निर्वाचन महत्त्वपूर्ण हुनेछ । वास्तवमा स्थानीय, प्रादेशिक र क्रमिक रूपमा केन्द्रीय निर्वाचन गराई संक्रमणकालीन अवस्थाको अन्त्य गरी स्थिर सुशासनको व्यवस्थापन गर्न सक्यौं भने त्यो सबैका लागि हर्ष र गौरवको विषय हुनसक्छ ।

यति ठूलो महत्त्व बोकेको निर्वाचनमा सहभागी दलहरूले आफ्ना घोषणपत्र, नीति, कार्ययोजना र विचार सार्वजनिक गरेका छन् । कार्यशैली एवं चरित्र युगसम्मत र युक्तिसंगत बनाउनु समय र समाजको आवश्यकता हो । विगतका निर्वाचनमा देखिएको अस्वस्थ प्रतियोगिताले राजनीतिमा थुप्रै विकृति र विसंगति भित्र्यायो । जसका कारण समाज अराजक बनेको छ र समाजलाई आघात परिरहेको छ । साथै भ्रष्ट संस्कृतिले जरासमेत फिँजायो । समकालीन नेपाली राजनीतिको तितो इतिहासले यही बताउँछ । कोही कसैले आफ्नो दल तथा प्रत्यासीको प्रचार–प्रसार गर्दा नकारात्मक टिकाटिप्पणी, लाञ्छना लगाउने वा व्यक्तिगत रिसइबी साध्ने कार्य पटक्कै गर्नु हुँदैन । यस्ता कार्य उद्दण्डताको द्योतक मानिन्छ । सकेसम्म मतदातासमक्ष कुशल कार्यसम्पादनको व्याख्या दिन सक्नुपर्छ । अहिले राजनीति व्यापारजस्तो भएको छ । अपराधीकरण र व्यापारीकरणको चंगुलबाट राजनीतिलाई जोगाउनुछ । त्यसैले स्वस्थ प्रतिस्पर्धाको जगमा उभिएर स्वच्छ समाजको निर्माणमा लाग्नु श्रेयस्कर हुनेछ । शिष्ट र सभ्य राजनीतिक संस्कृतिको विकासमा जोड दिनु समयको माग हो । यसैगरी मतदाताले पनि आफ्नो मतको प्रयोग गर्दा कसैको लोभ–प्रलोभनमा नपँmसी मतदान गरेमा भ्रष्टाचार, अनियमियता, नातावाद, मुलाहिजाको संस्कृति मौलाउन पाउँदैन । यसरी स्वस्थ समाजको निर्माण हुन्छ । यसैमा सबैको भलाइ निहित छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन नजिकिँदै गर्दा गाउँघर–सहर, सडक, मोटर गाडीमा दलहरूका आ–आफ्नै झण्डा, चिन्ह, व्यानर झुन्ड्याउने होडबाजी चलेको छ । उम्मेदवार तथा दलका पोस्टर, पर्चा–पम्पलेट आदिले झिलिमिली दृश्य देखिन थालेको छ । मतदातासंँगको भेटघाट घरदैलो अभियान, सभा–समारोह र्‍यालीले तीव्रता पाएको छ । गीत–सङ्गीत, नाचगान बाजागाजाको स्वर घन्किँदैछ । जसलाई हर्षोल्लासपूर्वक एक उत्सवका रूपमा मनाइरहेका छन् । जसले चुनावी माहोल तात्दै गएको अनुभूति गराउँछ । यसैगरी आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम पिछडा वर्ग र अनेक जातजाति समेत र विविध भाषाभाषी तथा फरक धर्मावलम्बी सबैलाई एकै महायज्ञमा उभ्याउन सफल यो निर्वाचन वस्तुत: एक महान् पर्व भएको छ । निर्वाचनको यस क्षणलाई बढी सौहार्दपूर्ण एवं निकै उत्सवमय बनाऔं र मतदानमा आफ्नो सहभागिता उत्साहप्रद ढंगले जनाऔं ।

विविधा

असली लोकतन्त्रको सुरुआत

- सोमबहादुर थापा

सर्वदलीय संयन्त्र र प्रशासनको सहारामा शासन चलाउन दिँंदा लोकतन्त्रको उपहास भएको पृष्ठभूमिमा स्थानीय तहको चुनावले फरक माहोल सिर्जना भएको छ । १५ वर्षदेखि स्थानीय जनप्रतिनिधि नहुंँदा निर्माणको काम पनि प्रभावकारी रूपमा हुनसकेन भने अनियमितता र भ्रष्टाचार पनि निकै बढ्न पुग्यो । स्थानीय नागरिकलाई लोकतन्त्र, विकास, आर्थिक समृद्धि, स्थिरता र शान्ति स्थापनाको काममा सहभागी र सक्रिय गराउन स्थानीय निर्वाचन हुनु सकारात्मक कदम हो । केन्द्रमा लोकतन्त्र र लोकतान्त्रिक तथा संवैधानिक संरचना तथा संस्था भएर मात्रै लोकतन्त्र, संघीयता र समावेशिता सुरक्षित र दिगो हुंँदैन । प्रजातन्त्र र संवैधानिक संरचना तथा संस्था गाउंँ–गाउँं र वडा–वडासम्म नफैलाउँदासम्म यसले दिगोपन लिन सक्दैन ।
स्थानीय निर्वाचनवाट संविधान कार्यान्वयनको सुरुवात हुन्छ र यसले देशमा असल शासन व्यवस्थाको पनि सुरुवात गर्नेछ । यो यथार्थलाई सबै नेताले बुझ्नु अत्यावश्यक छ । स्थानीय चुनावप्रति आमध्यान मात्रै आकर्षित भएको छैन, उनीहरूको सहभागिता र सक्रियता पनि उत्तिकै बढेको छ।

संवैधानिक व्यवस्था अनुसार २०७४ माघ ७ गतेभित्र तीनै तहको चुनाव गराउनुको अर्थ लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिताको शासन व्यवस्थालाई दिगो र स्थिर बनाउँंदै आर्थिक विकास, रोजगारी र शासन तथा विकासमा व्यापक जनसहभागितालाई बढाउँंदै अग्रगमनतिर लाग्नु हो भन्ने बुझिन्छ । यसको अर्थ संक्रमणलाई छिचोल्नु पनि हो । तसर्थ २०७४ माघ ७ गतेभित्र तीनै तहको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्वलाई सरकार र राजनीतिक दलले पुरा गर्न संवेदनशील भई लाग्नुपर्ने देखिन्छ ।

बेलायतमा सन् २०२० मा संसद्को चुनाव गरे हुनेमा वर्तमान प्रधानमन्त्री मेको सरकारले युरोपियन युनियनबाट बेलायतलाई बहिर्गमन गर्ने कार्यमा प्रभावकारिता ल्याउन २०१७ जून २० मा चुनाव गराउनेगरी संसद्मा राखेको प्रस्तावलाई ५२२ मतले स्वीकार गरी चुनावको तयारी गरिएको छ । यस सन्दर्भमा चुनाव समयमै गर्न/गराउन नेपालमा किन समस्या पर्छ भन्ने कुरा बुझिनसक्नु छ । आवधिक चुनाव गर्नु/गराउनु नै प्रजातन्त्रलाई दिगो र संस्थागत गराउनु हो ।

 तराई र मधेस लगायत देशका सबै क्षेत्रका जनता तोकिएकै समयमा स्थानीय निर्वाचन सम्पन्न होस् भन्ने चाहन्छन् । यो वास्तविकतालाई सबैले बुझ्न आवश्यक छ । गाउंँ–गाउंँमा जनता र उम्मेदवारका आकांक्षी चुनावको माहोल बनाइरहेका छन् । यसबेला मधेस केन्द्रित दलहरू पनि चुनावतिर आकर्षित भएको अवस्था छ । तराईमा पनि चुनाव गर्ने वातावरण बनाउनु आवश्यक छ । संविधान संशोधनलाई राष्ट्रिय हित अनुकूल छलफल गर्दै पारित गरेर पनि चुनाव गर्नुको विकल्प छैन । देशलाई सधैं गतिहीन अवस्थामा राख्नु हँुंदैन । तोकिएकै समयमा तीनै तहको निर्वाचन गरी यो गतिहीनतालाई समाप्त पार्नुपर्छ ।

चुनावमा हारजित हुने कुरा स्वाभाविक हो र चुनावमा सहभागी भएर आफ्नो बहुमत ल्याउंँदै दलको नीति र कार्यक्रम अनुसार संविधान र कानुनमा सुधार र परिमार्जन गर्दै जांँदा नै राजनीतिक दलहरूलाई राम्रो हुने देखिन्छ । यो संसारभरि चलेको अभ्यासको कुरा हो । अरू देशमा तोकिएको समयमै चुनाव गर्ने गरिन्छ । नेपालमा चुनाव गराउने कुरालाई व्यवस्थित नै गर्न सकिएको छैन । त्यसैलै प्रजातान्त्रिक शासन व्यवस्था नेपालमा जहिले पनि संक्रमणमा पर्न गएको देखिन्छ । आवधिक निर्वाचन प्रजातान्त्रिक शासन व्यवस्थाको अपरिहार्य तत्त्व भएकाले यसमा नि:सर्त सहभागी भई स्थानीय जनतालाई प्रभावकारी सेवासुविधा प्रवाह गर्ने, विकास र निर्माणलाई तीव्रता दिने तथा शान्ति, स्थिरता र आर्थिक समृद्धिलाई अगाडि बढाई स्थानीय जनताको विश्वास जित्दा नै सबै दललाई फाइदा हुने देखिन्छ ।

जनताको चाहनालाई उपेक्षा गर्ने वा जनतासंँग टाढा रहने राजनीतिक दललाई अस्तित्व जोगाउन अत्यन्त गाह्रो हुन्छ भन्ने कुरा पनि यस सन्दर्भमा विचार गर्नुपर्ने अर्को महत्त्वपूर्ण पक्ष हो । अहिले राज्यका सेवा प्रवाह तथा विकास निर्माण लगायत सबै काम अवरुद्ध छन् । यस अवस्थामा दुवै चरणका स्नाथीय चुनाव सम्पन्न गर्नु सबैको कर्तव्य हो । तसर्थ सरकार र सबै राजनीतिक दलले असन्तुष्ट दलहरूलाई मिलाएर वा ती दलका मागलाई सम्बोधन गर्नेतर्फ विचार गरेर अगाडि बढ्नु नै हितकर हुनेछ ।

आम जनतालाई केन्द्रीय सरकारभन्दा स्थानीय सरकारको आवश्यकता बढी छ । त्यसमाथि संविधानले स्थानीय तहलाई कार्यकारिणी, व्यवस्थापकीय र न्यायिक अधिकारयुक्त बनाएको अवस्थामा यसको महत्त्व र आवश्यकता झन् बढेर गएको छ । अहिले स्थानीय तहको निर्वाचित नेतृत्वले देशको कार्यकारी प्रमुख, प्रधानमन्त्रीले भन्दा बढी संवैधानिक अधिकार प्रयोग गर्नेछन् । तसर्थ जनताले योग्य र सक्षम उम्मेदवारलाई मत दिनुपर्ने देखिन्छ । लोकतन्त्रको सफलता पनि यसैमा निर्भर हुनेछ । त्यसैले अहिलेको स्थानीय निर्वाचनको महत्त्व पहिलेका निर्वाचनको भन्दा विशिष्ट खालको छ ।

विविधा

समृद्ध समाज निर्माणमा नर्सको भूमिका

- मेनुका भण्डारी

मे १२ आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटिङगेलको जन्म दिन हो । नाइटिङगेल सन् १८२० मा इटलीको फ्लोरेन्स सहरमा जन्मिएकी थिइन् । उनले क्रिमियन युद्धमा घाइते सिपाहीको अहोरात्र सेवा गरी मृत्युदर ४२ प्रतिशतबाट घटाएर २ प्रतिशतमा पुर्‍याएकी थिइन् । उनलाई क्रिमियन युद्धकी हिरोइन भनेर पनि चिनिन्छ । उनैको नर्सिङप्रतिको योगदान, बिरामीप्रतिको समर्पणलाई कदर गर्दै मे १२ लाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसका रूपमा मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको यस वर्षको नारा छ, ‘दिगो विकास लक्ष्य प्राप्तिमा नर्सको भूमिका’ । दिगो विकास लक्ष्य साहसिक र विश्वब्यापी सम्झौता हो, जसले सन् २०३० सम्ममा सबै प्रकारका गरिबी उन्मूलन गरी मानव समृद्धिका लागि समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्छ । दिगो विकासका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्य छन्, जुन संयुक्त राष्ट्र संघका १ सय ९३ सदस्य राष्ट्र सम्मिलित ऐतिहासिक राष्ट्रसंघीय शिखर सम्मेलनले पारित गरेर जनवरी २०१६ देखि लागु गरिएको छ । सबै ठाउँबाट सबै प्रकारका गरिबी तथा भोकमरी अन्त्य गर्ने, खाद्यसुरक्षा, स्वस्थ जीवन तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, लैङ्गिक समानता हासिल गर्ने, स्वच्छ खानेपानी र सरसफाइको उपलब्धता, किफायती र दिगो ऊर्जाको पहुँच, भरपर्दो र दिगो आर्थिक वृद्धि, औद्योगीकरणको प्रबद्र्धन र नवीन खोजलाई प्रोत्साहन, जलवायु परिवर्तन र प्रभाव नियन्त्रण गर्न पहल गर्ने लगायतका लक्ष्य दिगो विकासका छन् ।

नर्सिङ पेसामा प्रवेश गर्नुको उद्देश्य हो, व्यक्ति र समुदायको स्वास्थ्य स्थितिमा सुधार गर्नु । यसका लागि नर्सले प्रतिकारात्मक, प्रबद्र्धनात्मक सेवा प्रदान गर्नुका साथै शारीरिक रूपमा अशक्त, मानसिक समस्या भएका साथै विभिन्न किसिमका अवस्थामा र स्थानमा सेवा पुर्‍याउन सक्छन् । नर्सले नै उच्च मातृ मृत्युदर तथा बाल मृत्युदर घटाउन हरेक तह–तप्कासम्म सेवा पुर्‍याउन सक्छन् र गरिरहेका पनि छन् । चाहे हस्पिटल वा समुदाय जुनसुकै क्षेत्रमा नर्सको भूमिका महत्त्वपूर्ण रहिआएको छ ।

आफ्नो क्षमता र सीपको प्रयोगबाट अग्रिम जटिलता पत्ता लगाउने, व्यवस्थापन गर्ने तथा आवस्यकता अनुसार प्रेषण गर्ने भूमिका उनीहरूको हुन्छ । त्यसैगरी शिक्षाको माध्यमबाट जीवनको गुणस्तर सुधार गर्न सक्छन्, बच्चालाई स्कुल पठाउन उत्प्रेरित गर्न सक्छन्, समाजमा भइरहेका विभिन्न किसिमका हिंसा अन्त्यका लागि सचेतनामूलक कार्यक्रम गरेर उचित न्याय दिलाउन सक्छन् ।

सहस्राब्दी विकास लक्ष्य अन्तर्गत विश्वले धेरै सुधारात्मक प्रगति गरेको छ, जस्तै– औसत आयु बढेको, बाल मृत्युदर घटेको, गरिबी घटिरहेको, स्वच्छ पिउने पानी र सरसफाइमा पहँुच बढेको छ । यी हरेक पक्षमा नर्सको प्रत्यक्ष–अप्रत्यक्ष भूमिका देखिन्छ । त्यसैगरी दिगो विकास लक्ष्यले कम विकसित तथा विकसित राष्ट्र सबैलाई समेटेको छ, यी लक्ष्यहरूको वास्तविक चिन्तन–मननले आफू स्वयं, परिवार र समुदायको स्वास्थ्यलाई समेत सुधार गर्न सहयोग गर्छ र यसमा पनि नर्सहरूको भूमिका संयोजनकारी हुने गर्छ । नर्सिङ पेसाले लैंगिक समानतालाई प्रबद्र्धन गरेको छ । नर्सिङ पेसामा आबद्ध धेरै किशोरी तथा महिलाले औपचारिक शिक्षा, तालिम प्राप्त गरेका छन्, जसले आर्थिक, लैङ्गिक, शैक्षिक रूपमा सशक्त हुन मद्दत पुगेको छ । अर्कोतर्फ नर्सले धेरै महिलाको स्वास्थ्यस्थिति सुधार्न सहयोग गरेका छन् ।

सबै नर्समा एउटै आवाज हुनुपर्छ र त्यो आवाज परिवर्तनका लागि हुनुपर्छ । प्राविधिक र दक्ष सेवा सुरक्षित र प्रभावकारी ढंगले सबै तहमा पुर्‍याउनुपर्छ । नर्सिङ पेसालाई सशक्त बनाउन नर्सिङ संगठनहरूको महत्त्वपूर्ण भूमिका हुनुपर्छ । नर्सिङ जनशक्तिहरूको माग र पदपूर्ति गर्न, गुस्तरीय शिक्षाका लागि पहल गर्न, राष्ट्रिय नीति निर्माणमा निर्णय लिन यस्ता संगठनहरू सहयोगी बन्न सक्छन् । नर्सिङ आफैमा पूर्ण हुनसक्दैन । त्यसैले अरू पेसागत संघ–संगठनहरूसँंग सहकार्य गर्नुपर्छ । शिक्षा, कानुनी, कृषि, खानेपानी तथा सरसफाइ आदि क्षेत्र, सामाजिक तथा राजनीतिक व्यक्तिसँग सहकार्य गरी अघि बढ्न सकिन्छ, जसबाट दिगो विकासका लक्ष्य हासिल गर्न सकिन्छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले माध्यम, दक्ष जनशक्ति र साधन प्रदान गर्छ ।
भण्डारी नर्सिङ क्याम्पस विराटनगरकी उपप्राध्यापक हुन् ।

Page 8
स्थानीय निर्वाचन

मतदाता परिचयपत्र हातहातमा

- कान्तिपुर टिम
नुवाकोटको विदुरस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पस मतदान केन्द्रमा बिहीबार मतदाता परिचयपत्र बुझ्दै स्थानीय । तस्बिर : कृष्ण थापा/कान्तिपुर

सिन्धुपाल्चोक– निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन अधिकृतलगायत कर्मचारी खटिसकेका छन् । यससँगै बिहीबारबाट मतदातालाई परिचयपत्र वितरण तीव्र पारिएको छ ।

एक केन्द्रमा दुईवटाका दरले राखिने गरी जिल्लाभर ५ सय १६ मतपेटिका पठाइएको छ । तीन नगर र नौ गाउँपालिकामा गरी २ सय ५८ मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार सामाजिक परिचालक, स्वास्थ्य स्वयंसेविका र शिक्षक गरी २ सय ५० लाई मतदाता शिक्षासम्बन्धी तालिम दिएर खटाइएको छ । ‘अधिकृत र सहायक मतदान अधिकृत पनि कार्यक्षेत्र पुगेर काम गर्न थालिसकेका छन्,’ जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीले भने, ‘उनीहरूलाई पनि तालिम दिएर खटाइएको हो ।’ कार्यालयका अनुसार जिल्लाभरमा फोटोसहितको मतदाता नामावलीमा १ लाख ९८ हजार ९ सय २४ जना छन् ।

सुरक्षा तयारी तीव्र
निर्वाचन नजिकिँदै जाँदा सुरक्षा सक्रियता बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी उपरीक्षक रवीन्द्र केसीले नगर र गाउँपालिकामा रहने मतदान केन्द्र लक्षित सुरक्षा योजना तर्जुमा गरिसकेको जानकारी दिए । ‘काजमा रहेका प्रहरी फिर्ता बोलाएर काममा खटाइसकेका छौं,’ उनले भने।

अधिकृत पुगेसँगै परिचयपत्र
सिन्धुली– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका सबैमा मतदाता परिचयपत्र वितरण सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थलमा कर्मचारी खटाएर परिचयपत्र वितरण थालिएको हो । यहाँ २ सय ३० मतदान केन्द्र छन् । परिचयपत्र वितरण भएका सबै स्थानमा सामाजिक परिचालकमार्फत मतदाता शिक्षा दिने व्यवस्था मिलाइएको कार्यालय जनाएको छ । सबै तहमा गरी १ हजार ४ सय निर्वाचन कर्मचारी खटिएका छन् । सुरक्षाका लागि नेपाल प्रहरी ९ सय, सशस्त्र ४ सय, सेना ३ सय ३० र म्यादी प्रहरी ९ सय ९७ खटिएको प्रजिअ ताराबहादुर कार्कीले जानकारी दिए ।

मतदाता उत्सुक
नुवाकोट– मतदानका लागि दुई दिन मात्र बाँकी छँदा मतदाता धमाधम परिचयपत्र लिँदै छन् । तोकिएको मतदान केन्द्रबाट उनीहरूलाई बिहीबारदेखि परिचयपत्र वितरण थालिएको हो । विशेषगरी सहरी क्षेत्रका मतदाता परिचयपत्र लिन उत्सुक देखिएका छन् ।

केन्द्रभरि महिला कर्मचारी
पोखरा– कास्कीको एक मतदान केन्द्रमा सबै महिला कर्मचारी परिचालन गरिएको छ । पोखरा–लेखनाथ महानगरपालिका ८ सिमलचौरस्थित जनप्रिय मावि मतदान स्थलको ‘ख’ मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको हो ।

केन्द्रमा उपसचिव सरिताकुमारी खतिवडा मतदान अधिकृत छन् । सहायक मतदान अधिकृतमा कविता अर्याल, सहायक कर्मचारी संगीता पौडेल र गोमा ढकाल तथा सहयोगी दुई गरी छ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले बताए । ‘महिला मात्र कर्मचारी खटाएर नमूना बनाउन चाहेका हांै,’ उनले भने । उक्त मतदानस्थलमा चारवटा केन्द्र छन् । खतिवडा नेतृत्वको केन्द्रमा ७ सय ९९ मतदाता छन् । उनले जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने बताइन् ।

मतदाता शिक्षा निष्प्रभावी
जुम्ला– स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमार्फत प्रदान गरिएको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । मतदातालाई सही तरिकाले मतदान गर्न सिकाउन खटाइएका कर्मचारीले जिम्मेवारी पूरा नगरेको गुनासो व्यापक छ । निर्वाचन तयारीबारे अनुगमनमा गएको प्रजिअ नेतृत्वको टोली र मानव अधिकारको क्षेत्रीय टोलीले गाउँमा कसैलाई मतदाता शिक्षाबारे राम्रो जानकारी नरहेको पाएको हो । निर्वाचन कार्यालयले समाजिक परिचालिका, शिक्षक र सम्बन्धित गाउँपालिकाका वडा सचिवलाई मतदाता शिक्षा दिन खटाए पनि उनीहरूले जिम्मेवारी पूरा नगरेको प्रजिअ नारायणप्रसाद सापकोटाले बताए । ‘झन्डै दुई दशकपछि हुन लागेको निर्वाचन विगतभन्दा भिन्न खालको रहेकाले मतदातालाई मतदान गर्ने तरिका राम्रोसँग सिकाउनुपर्ने हो,’ उनले भने, ‘मतदाता शिक्षा प्रभावकारी भएको देखिएन । अझै पनि धेरै
मतदाता कसरी मतदान गर्ने भन्ने अन्योलमा छन् ।’

राष्ट्रिय मानवअधिकार आयोगको उपक्षेत्रीय कार्यालयले गरेको अनुगमनमा पनि मतदाता शिक्षा कार्यकर्ता गाउँगाउँ नपुगेको पाइएको सहायक मानवअधिकार अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले बताए । यसपालिको निर्वाचन विगतभन्दा अलि फरक र मतपत्र पनि भिन्न रहेकाले केही जटिलता देखिएको टोलीले जनाएको छ । छोटो समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यताबीच मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा लागू नभएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए । ‘यसैकारण मत बदर हुने सम्भावना धेरै देखिन्छ,’ उनले भने ।

अपांगमैत्री छैनन् केन्द्र
जुम्लामा निर्धारित ८७ मतदान केन्द्रमध्ये ७६ वटा अपांगमैत्री छैनन् । यसले गर्दा अपांगता भएका व्यक्तिलाई मतदानमा सहभागी हुन समस्या देखिन्छ । प्राय: मतदान केन्द्र विद्यालयमा तोकिएका छन् । अनुगमनमा गएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालयको टोलीले मतदान स्थल अपांगमैत्री नभएको जनाएको हो । सहायक मानव अधिकार अधिकृत न्यौपानेले कर्णालीका मुगु, कालिकोट, हुम्ला, डोल्पा र जुम्लाका सबै मतदान केन्द्र अपांगमैत्री नभएको बताए । ‘अपांगता भएका व्यक्तिलाई बोकेर पुर्‍याउनुपर्ने अवस्था छ,’ राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले भने ।

मतपेटिका ल्याउन हेलिकप्टर माग
गोरखा– मतदानपछि विकट भेगका केन्द्रबाट मतमेटिका गणनास्थलसम्म ल्याउन हेलिकप्टर व्यवस्था गर्न सरोकारवालाले माग गरेका छन् ।
निर्वाचन तयारीको अवस्था निरीक्षण गर्न आएका निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलसँग बिहीबार उनीहरूले हेलिकप्टर नभए मतमेटिका ढुवानीमा समस्या हुने गुनासो गरे । ‘हिमालपारिका ३१ मतदान केन्द्र अत्यन्तै दुर्गममा छन्,’ मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले भने, ‘हेलिकप्टरमा नभए मतपेटिका संकलन गर्न कठिनाइ हुन्छ ।’ सदरमुकामबाट सबैभन्दा दुर्गमको सामागाउँस्थित साम्दो मतदान केन्द्रमा ६ दिन लगाएर कर्मचारी पुगेको उनले जानकारी दिए । ‘निर्वाचन गराउन जसोतसो कर्मचारीलाई हिँडाएर पठायौं,’ उनले भने, ‘दुई कर्मचारी बिरामी भएपछि बाटोबाटै फर्काउनुपर्‍यो ।’

भूकम्पका कारण बाटो जोखिमपूर्ण भएकाले पनि मतपेटिका ढुवानी गर्न हेलिकप्टर आवश्यक पर्ने सांसद कमला पन्तको भनाइ छ । ‘मतपेटिका बोकेर ल्याउँदा सुरक्षित नहुन सक्छ,’ उनले भनिन् । यसैबीच जिल्लामा मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्लाका सबै मतदान केन्द्रहरूमा परिचयपत्र वितरण थालिएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । अब मतदान केन्द्रमा तयारी केन्द्रित पारिएको प्रजिअ जितेन्द्र बस्नेतले जानकारी गराए ।

जिल्लाका २ सय ६० मतदान केन्द्रमध्ये सुरक्षाको दृष्टिकोटले ६८ अति संवेदनशील, १ सय ३३ संवेदनशील र १२ वटा केन्द्रलाई सामान्य भनी वर्गीकरण गरिएको छ । ‘दलहरूबीचको अस्वस्थ प्रतिस्पर्धा, विगत निर्वाचनको अनुभव, भौगोलिक विकटतालाई मध्यनजर गरी मतदान केन्द्रको विश्लेषण गरिएको हो,’ उनले भने ।

स्थानीय निर्वाचन

चुनावी सभानजिक बम विस्फोट

- नारायण शर्मा

नवलपरासी– कावासोती बजारमा कांग्रेसले आयोजना गरेको चुनावी सभानजिक बम विस्फोट भएको छ । व्यस्त महेन्द्र राजमार्गको छेवैमा भएको विस्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।कावासोती नगरपालिका ३ स्थित पुरानो कावासोतीमा कांग्रेसले चुनावी सभा गरिरहँदा सभास्थलनजिक ठूलो आवाजमा बम विस्फोट भएको हो । वडा नं ३ का वडाध्यक्ष पदका उम्मेदवार अमृत श्रेष्ठले बोल्दै गर्दा सभास्थलबाट ५० मिटरको दूरीमा विस्फोट भएको प्रहरीले जनायो । ठूलो आवाजमा बम विस्फोट भएपछि कोणसभामा भेला भएका स्थानीय भागाभाग भएका थिए । आगोको मुस्लोसहित वरपर धुलाम्मे भएको थियो ।

महेन्द्र राजमार्गमा रहेको त्रिनेत्र बाबा पेट्रोल पम्पदेखि एक सय मिटर पूर्वमा रहेको पीपलको चौतारीमुनि बिहीबार साँझ पौने ७ बजे बम विस्फोट भएको हो । ‘कोणसभामा बोल्दाबोल्दै ठूलो आवाजमा विस्फोट भयो । सबै भागाभाग भइयो,’ उम्मेदवार श्रेष्ठले भने, ‘हेर्दाहेर्दै सडक धुलाम्मे भयो र ज्यान जोगाउन भाग्यौं ।’बम विस्फोटपछि कांग्रेसले सभा स्थगन गरेको थियो । कोणसभामा स्थानीय आउने क्रम जारी थियो । मेयर र उपमेयरका उम्मेदवारले बिहीबार साँझ अन्तिम र्‍यालीसहित चुनावी सभा गर्दै रहँदा विस्फोट गराइएको हो । सभामा कांग्रेसका उम्मेदवार र जिल्ला तहका वक्ताहरू बोल्ने कार्यक्रम थियो ।

विस्फोटको खबर पाउनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर घेरा हालेको थियो । इलाका प्रहरी कार्यालयबाट डेढ किलोमिटर पश्चिम महेन्द्र राजमार्गमा विस्फोट भएको हो । विस्फोटको कसैले पनि जिम्मेवारी लिएको छैन । सभास्थल वरपर विस्फोट भएपछि स्थानीय त्रसित भएका छन् । घटनास्थलमा सेना र प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ । कोणसभामा सयौं मतदाताहरू सहभागी थिए । टिनको पाताजस्ता टुक्रा धेरैतिर छरिएको भेटिएको डीएसपी राजेश थापाले बताए । ‘निर्वाचनको वातावरण तातेको बेलामा त्रसित बनाउने मनसायले विस्फोट गरेको देखिन्छ । खोजतलासका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने ।

मेयर उम्मेदवारको घरमा सुतली बम
यस्तै कावासोतीमा मेयर पदका उम्मेदवार महेन्द्र पोखरेलको निजी घरमा बिहीबार साँझ मोटरसाइकलमा आएका दुई जनाले बम राखेर भागेको स्थानीयले जानकारी दिएका छन् । प्रहरीले सुतली बम भएको र निस्तेजका लागि सेनालाई खबर गरिएको जनाएको छ । यसअघि तीन जना मेयर उम्मेदवारका घरबाहिर सकेट बम भेटिएका थिए ।

 गैडाकोट र कावासोती नगरपालिकाका माओवादी केन्द्रका तर्फवाट मेयरका उम्मेदवार क्रमश दुर्गादत्त ढुंगाना र डांसीराम बस्याल (माइकल) को घर बाहिर राखिएको बम सेनाको टोलीले निस्क्रिय पारेको छ । मध्यबिन्दु नगरपालिकामा मेयरका एमालेका उम्मेदवार भीमलाल अधिकारीको घरमा पनि सुतली बम फेला परेको प्रहरीले जनाएको छ । गैंडाकोट नगरपालिका–८ स्थित ढुंगानाको घरबाहिर बालुवाको थुप्रोमा राखिएको सकेट बम सेनाको वज्रदल गणको टोलीले बिहीबार निष्क्रिय पारेको हो । कावासोती १५ गोछडामा रहेको बस्यालको घरबाहिर पनि सकेट बम फेला परेको थियो । प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिकामा मेयरका उम्मेदवार अधिकारीको घरमा पनि बुधबार राति सुतली बम विस्फोट गराउने प्रयास भएको थियो ।

यातायात कार्यालयमा विस्फोट
सिरहा– अज्ञात समूहले लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा बिहीबार बम विस्फोट गराएको छ । सेवाग्राहीको घुइँचो रहने कार्यालयमा १२ बजेतिर ठूलो आवाजसहित भएको विस्फोटमा कुनै मानवीय क्षति भएको छैन । विस्फोटबाट शौचालयको भित्ता र झ्यालका सिसा फुटेका छन् । भित्ता चर्किएका छन् । कार्यालय प्रमुखको कार्यकक्ष नजिकैको माथिल्लो तलामा रहेको शौचालयमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटपछि सेवाग्राही र कर्मचारीको भागदौड मच्चिएको थियो । घटनापछि कार्यालयको कामकाज बिहीबार दिनभर ठप्प रह्यो । उक्त शौचालय सेवाग्राहीले प्रयोग गर्ने गरेका थिए ।

कार्यालय प्रमुख ओमकारप्रसाद न्यौपानेले आफ्नै कार्यकक्षमा कर्मचारीहरूसँग छलफल गरिरहेका बेला एक्कासि ठूलो आवाजका साथ विस्फोट भएको जानकारी दिए । कुनै पनि समूहबाट आफूलाई चन्दाको माग वा धम्की नआएको भन्दै उनले घटनामा संलग्न पक्षबारे अनभिज्ञता जनाए । घटनास्थलबाट हरियो झोलाको फित्ता, प्रेसर कुकरको सिटी र कन्टेनर फेला परेकाले प्रेसर कुकर बम हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान र संलग्नको खोजी भइरहेको प्रहरीले जनायो ।

स्थानीय निर्वाचन

छुट्टाछुट्टै अनुसन्धान टोली

जुँगु हत्या घटना
- कान्तिपुर संवाददाता

दोलखा– एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्यापछि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । दोलखालाई अति संवेदनशील जिल्लामा राखेर चुनावी सुरक्षा योजना तय गरिएको छ । घटना अनुसन्धान गर्न प्रहरीले छुट्टाछुट्टै विशेष टोली खटाएको छ ।

छोराको हत्या गरेको आरोप लगाउँदै गौरीशंकर गाउँपालिका–२ जुँगुका एमालेबाट वडा सदस्य उम्मेदवार गोरे तामाङले माओवादी केन्द्रका ३९ स्थानीय नेता–कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीको केन्द्रीय टोली घटनाको अनुुसन्धानमा खटिएको छ । शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ । जनकपुर अञ्चलका प्रहरी प्रमुख एसएसपी सुवास चौधरी हेलिकप्टरबाट घटनास्थल अनुसन्धान गरेर सदरमुकाम चरिकोटलाई मुकाम बनाई काम गरिरहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेतले अनुसन्धान भइरहेको जानकारी दिए । त्यसैगरी प्रहरी प्रधान कार्यालयको कार्यदलका एसपी सुदीप गिरीको नेतृत्वमा विशेष टोली खटिएको छ । घटनामा संलग्न आशंकामा आठ जना पक्राउ परिसकेको र मुख्य अभियुक्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताए ।

आयोगको छुट्टै टोली
घटना छानबिन गर्न निर्वाचन आयोगले पनि निर्वाचन आयुक्त सुधीर शाहको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको छ । घटनालाई गम्भीर रूपमा लिई आयुक्तको नेतृत्वमा छानबिन गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । उनले दोलखा घटनापछि सुरक्षा सतर्कता बढाइएको समेत बताए ।

मतदाता सवार बस खस्दा दुईको मृत्यु
सिन्धुपाल्चोक– चुनावका लागि घर फर्कंदै गरेका व्यक्ति सवार बस खस्दा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३५ जना घाइते छन् । मृत्यु हुनेमा दोलखा, लामीडाँडा–४ का मुक्तिनाथ घिमिरे र उनकी पत्नी रत्नकुमारी छन् । घिमिरेको घटनास्थलमै र रत्नकुमारीको उपचारक्रममा मृत्यु भएको प्रहरीले जनायो । राजधानीबाट दोलखा जाँदै गरेको बा३ख ५०५६ नम्बर बस बिहीबार खाडीचौर बजारदेखि माथि तीनकिलोमा दुर्घटनाग्रस्त भएको हो । ५० जनाभन्दा बढी यात्रु सवार बस तीनकिलोस्थित सडकबाट २० फिट तल खसेको थियो । घाइतेको खाडीचौरस्थित सिन्धु सदाबहादुर अस्पतालमा उपचार भइरहेको छ । त्यहाँ उपचार सम्भव नभएका ९ जनालाई धुलिखेल लैजान रिफर गरिएको बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चमान बाखुले बताए ।

स्थानीय निर्वाचन

पतिबाटै कुटिइन् महिला उम्मेदवार

- कान्तिपुर संवाददाता
उम्मेदवारी फिर्ता नलिएको भन्दै पतिबाट निर्घात कुटिएकी पद्मा खड्का पोखराको फेवा सिटी अस्पतालमा । तस्बिर : दीपक परियार/कान्तिपुर

लेखनाथ– रूपा गाउँपालिका–५ मा महिलातर्फबाट वडा सदस्य उम्मेदवार पद्मा खड्का पतिबाटै कुटिएकी छन् । माओवादी केन्द्रकी खड्कालाई उम्मेदवारी फिर्ता नलिएको भन्दै पति यामबहादुर गुरुङले निर्घात कुटपिट गरेका हुन् ।

गम्भीर घाइते खड्कालाई पोखराको फेवा सिटी अस्पतालमा भर्ना गरिएको छ । पतिले बाँसको चिर्पटले टाउको, ढाड र हातमा प्रहार गरेको उनले बताइन् । कुटपिटबाट पद्माको दाहिने हात भाँचिएको छ । उनको टाउकोमा समेत ४ वटा टाँका लगाइएको छ ।

हातको हड्डी नै भाँचिएकाले शल्यक्रिया गरेर स्टिल राख्नुपर्ने चिकित्सकले बताएका छन् । खड्काका जेठाजु टेकबहादुर गुरुङ एमालेबाट वडाध्यक्षको उम्मेदवार हुन् । उनले जेठाजुकै निर्देशनमा कुटपिट भएको आरोप लगाइन् । यामबहादुर पोखराको टुकी रिसोर्टमा सुरक्षा गार्डका रूपमा काम गर्छन् । आफू माओवादी केन्द्रबाट उम्मेदवार बनेपछि जेठाजुले भाइलाई बोलाएर कुट्न लगाएको पद्माको आरोप छ । ‘श्रीमान्ले पहिलेदेखि नै उम्मेदवारी फिर्ता लिन धम्की दिनुहुन्थ्यो,’ उनले भनिन्, ‘मैले तपाईं दाइलाई जिताउन लाग्नुस् म आफंै लड्छु भनेकी थिएँ ।’  
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले यामबहादुरलाई पक्राउ गरी अनुसन्धान गरिने बताएका छन् । ‘कुटपिटमा श्रीमान्को मात्रै वा अन्यको पनि संलग्नता छ भन्ने अनुसन्धानपछि मात्रै थाहा हुन्छ,’ उनले भने ।

Page 9
स्थानीय निर्वाचन

चुनावका लागि घर फिरे मतदाता

- भीमबहादुर सिंह
जाजरकोटका स्थानीय निर्वाचनमा भोट हाल्न घर फर्कंदै । तस्बिर : भीमबहादुर / कान्तिपुर

जाजरकोट– त्रिवेणी नलगाड नगरपालिका–४, सार्कीबाडाका दलबहादुर सार्की हतारिँदै घर फिरेका छन् । उनी ८ वर्षदेखि भारतको हिमाचल प्रदेशको सिमलास्थित स्याउ बगैंचामा चौकीदारीको काम गर्थे । सोही ठाउँका खर्कबहादुर, गणेशबहादुर र लालसिंह सार्की पनि भारतकै कार्गिलबाट भोट हाल्नकै निम्ति घर फर्किए ।

मतदान अधिकारको प्रयोग गर्न फर्केको उनीहरू बताउँछन् । भारतमा काम गर्ने मात्र होइनन्, मुलुककै विभिन्न जिल्लामा पेसा र व्यवसायमा संलग्नहरू पनि मतदान गर्न धमाधम घर फर्कन थालेका छन् । सदरमुकाममा बसेर विभिन्न पेसामा आबद्ध व्यक्तिहरू पनि पुख्र्यौली थातथलोमा फर्कने चटारोमै छन् ।

दलबहादुर वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि छुट्टी लिएर आएको बताउँछन् । २० वर्षपछि हुन लागेको निर्वाचनमा गाउको विकास गर्न सक्ने योग्य उम्मेदवारलाई भोट हाल्ने बताए । अर्काको देशमा बसेर मजदुरी गरे पनि आफ्नो गाउँको विकास र समृद्धि चाहेको उनले सुनाए । ‘विकट बस्तीमा विकासका ढोका खुलेका छैनन्, रोजगारीका अवसर छैनन् । त्यसैले भारतमा गएर मजदुरी गर्न बाध्य छौं,’ उनले भने ।

गाउँमा पुगेर घरपरिवार सबैलाई भ्रष्टाचार नगर्ने, विकासका लागि दिलो ज्यान दिने र घरछेउमै रोजगारीका अवसर सिर्जना गर्न सक्ने उम्मेदवारलाई भोट हाल्न अभिप्रेरित गर्ने दलबहादुरले बताए । उनी २ साताको बिदामा आएका हुन् । ‘देशको सचेत नागरिक भएपछि मताधिकारको प्रयोग गर्नुपर्‍यो,’ सोही गाउँका लालसिंहले भने, ‘चुनावमा विजयी हुने नेताले हाम्रो समस्या समाधान गर्लान् भन्ने विश्वास त छैन । जीवन निर्वाह तथा घरपरिवार धान्न भारतको मजदुरीको विकल्प छैन । जे भए पनि इच्छाएको उम्मेदवारलाई मतदान गरेर काममा फर्किन्छु ।’ रोजगार तथा अध्ययन, व्यापार लगायतको सिलसिलामा विदेश र जिल्लाबाहिर रहेका मतदाता भोट हाल्न फर्कने क्रम बढेको छ । उम्मेवारले पनि मतदानका लागि फोन गरेर बोलाउने गरेका छन् । लामो समयपछि हुन लागेको चुनावलाई उत्सवका रूपमा लिँदै रोजेको उम्मेदवारलाई विजयी गराउन जिल्ला भित्रनेको संख्या बढेको प्रमुख जिल्ला अकिारी कृष्णचन्द्र पौडेलले बताए ।

रोजगारीका लागि भारतको सिम्ला, कुमाउ, गडवाल, थराली, बम्बई, चण्डीगड, कार्गिल, दिल्लीलगायत स्थानमा रहेका मतदाता घर फर्केको प्रजिअ पौडेल बताउँछन् । त्यस्तै राजधानी काठमाडौं, नेपालगन्ज, सुर्खेतलगायत स्थानमा रोजगारी, अध्ययन र व्यापार व्यवसायको सिलसिलामा रहेका पनि घर फर्केका छन् । नागरिक अधिकारको प्रयोग गर्न भनेरै भोट हाल्न घर फर्केको कुशे गाउँपालिका–९, मेलविसाउनाका सयचन्द्र गिरीले बताए । गिरी काठमाडौंका माध्यमिक शिक्षक हुन् ।

दैनिक ज्याला मजदुरी गरी घरखर्च जुटाएर दसैंतिहार पर्वमा मात्र घर फर्कने स्थानीय यतिबेला भने भोट हाल्नका लागि रोजगारी छाडेर जिल्ला फर्केको बताउँछन् । बर्सेनि रोजगारीका लागि यहाँका हजारौं युवा भारत जान बाध्य छन् । ज्याला मजदुरी गर्न गोरखा गएका भेरी नगरपालिका–३ का जयबहादुर केसी पनि गरिब, विपन्न जनताको हितमा काम गर्ने असल नेतालाई जिताउन घर फर्केको बताउँछन् ।

नमुना मतदान
सदरमुकामको गैरीखालीस्थित मतदान केन्द्रमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा मतदान गरिएको हो । बिहीबार भएको नमुना मतदानमा २ प्रतिशत मत बदर भएका छन् । त्यस्तै १२ प्रतिशत मत आंशिक बदर र ८६ प्रतिशत मत सदर भएको निर्वाचन अधिकारी हरिबहादुर बुढाले बताए ।

स्थानीय निर्वाचन

‘चौरजहारीलाई नमुना सहर बनाऊ’

- दुर्गालाल केसी,हरि गौतम

चौरजहारी (रुकुम)– जिल्लाको महत्त्वपूर्ण बजार भएर पनि ओझेलमा परेको चौरजहारीका बासिन्दाले स्थानीय निर्वाचनका उम्मेदवारलाई सबै विकास निर्माणका संरचना पूरा गरेर नमुना सहर बनाउन माग गरेका छन् । सरकारले देशका दस नमुना सहरमध्ये चौरजहारीलाई पनि छनोट गरेको छ तर अहिलेसम्म यहाँ कुनै नमुनायोग्य काम भएका छैनन् । अब निर्वाचनमा विजयी हुने उम्मेदवारले नमुना सहर बनाउन सडक, खानेपानी र पुलको व्यवस्था गर्नुपर्ने मतदाताको माग छ ।

सडकको पहुँचबाट छुटदा चौरजहारी धेरै पछि परेको उद्योग वाणिज्य संघका अध्यक्ष तेजबहादुर विष्टले बताए । ‘यो पहिले रुकुम, सल्यान, जाजरकोट र डोल्पाको व्यापारिक केन्द्र थियो । अहिले रुकुमको मुसिकोट र जाजरकोटको खलंगासम्म कालोपत्रे सडक बन्यो,’ उनले भने, ‘तर चौरजहारीमा कतैको सडक जोडिएन । मध्यपहाडी राजमार्ग आयो तर यसको निर्माण अलपत्र छ । नियमित यातायात चल्ने अवस्था छैन ।’भोट माग्न आउने उम्मेदवारलाई सल्यानको सल्लीबजारबाट चौरजहारी जोड्ने सडक कालोपत्रे हुनुपर्ने माग गरेको उनले बताए । वर्षा लाग्नेबित्तिकै सडक बन्द हुने गरेको उनले बताए । कालोपत्रेको टेन्डर खुले पनि काम अघि बढ्न सकेको छैन । नाथेखोलामा पुल बनाउने काम रोकिएको छ । सानीपिप्लीखोलामा पनि टेन्डर खोलेर काम भएको छैन । ‘सबैतिर काम अलपत्र छ । सडक सञ्जालबाट चौरजहारी छुट्यो । अब काममा ढिलाइ गर्न हुँदैन,’ उनले भने, ‘हामीले सबै नेताहरूलाई यही माग राखेका छौं । यहाँसम्म पुग्ने राम्रो सडक चाहियो ।’

सडकको कठिनाइका कारण वर्षा लागेपछि जाजरकोट घुमेर आउनुपर्ने बाध्यता रहेको उनले बताए । ‘जाजरकोट हुँदै घोडा, खच्चडमा सामान ओसार्दा महँगो हुन्छ । यसबाट उपभोक्ता मारमा पर्छन्,’ विष्टले भने, ‘नमुना सहर बनाउने भन्ने तर एउटा राम्रो बाटो पनि नहुने । एकातिर भेरी नदीले घेरेको छ, अर्कातिर बाटा छैनन् । हामी त थुनिएको जस्तो भएका छौं ।’मध्यपहाडी राजमार्गमा पर्ने खोलामा पुलहरू अलपत्र छन् । जाजरकोटसम्म व्यापारिक सम्बन्ध बलियो बनाउन भेरी नदीमा पुल बन्नुपर्ने उनको माग छ । सडकको सहज पहुँच नहुँदा ७५ प्रतिशत व्यापार घटेको विष्टले बताए ।

द्वन्द्वकालमा विस्थापित खाद्य, कृषि सामग्री र कृषि विकास बैंकजस्ता सरकारी कार्यालय पुन:स्थापना नभएको स्थानीय गोपाल रेग्मीले बताए । भोट माग्ने नेताहरूले यी कार्यालय स्थापनालाई महत्त्व दिनुपर्ने उनको भनाइ छ । ‘खानेपानीको पनि ठूलो समस्या छ । मुहान सुकेका छन् । भेरी नदीको पानी लिफ्टबाट तान्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘नेताहरूले प्रत्येक घरमा खानेपानीका धारा पुर्‍याउँछौं भन्छन् । नगर अस्पताल, विद्युत्, सहकारी, माइक्रो हाइड्रो र एम्बुलेन्स सेवा पुर्‍याउँछौं भन्छन्, भनेका सबै काम गरिदिए नमुना सहर बन्ने थियो ।’ चुनावपछि चौरजहारीमा विकास होला भन्ने आशा बढेको दलित नेता पुष्प बादीले बताए ।

स्थानीय निर्वाचन

ठूलो महानगर,थुप्रै समस्या

- लालप्रसाद शर्मा

पोखरा– स्वास्थ्य, शिक्षा, संस्कृति, सभ्यता र पूर्वाधार विकासलाई सहरको सम्पन्नताको सूचक मानिन्छ । प्रकृतिले ताल, खोला र पहाडी भूगोलले सिंगारेको छ, पोखरालाई । सहर भौतिक पूर्वाधारले पनि सम्पन्न हुन गर्नुपर्ने काम भने अझै थुप्रै छन् ।

महानगर घोषणासँगै आसपासका थुप्रै साबिकका गाविस पोखरामा गाभिए । ग्रामीण क्षेत्रलाई सहरसँग प्रत्यक्ष जोडेर सडक, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यलगायत पूर्वाधारको विकास तत्काल आवश्यक भइसकेको छ । महानगरभित्रका सबै ९ ताललाई संरक्षण गर्दै पर्यटकीय हिसाबले पर्याप्त लाभ लिन तालहरूको लिंकेज आवश्यक रहेको भूगोलविद् खगेन्द्र पौडेल बताउँछन् । ‘मुख्य कुरा सहरलाई व्यवस्थित बनाउँदै ग्रामीण क्षेत्रमा पूर्वाधार विस्तार चुनौती देखिन्छ,’ उनले भने, ‘पोखराको प्राकृतिक सौन्दर्यता र स्रोतको उचित व्यवस्थापन र जगेर्ना गर्नुपर्छ ।’

पोखरा पर्यटकीय सहर भएकाले पनि यसको अन्तर्राष्ट्रिय सम्बन्ध रहन्छ । तर, अझै पनि यहाँ थुप्रै न्यूनतम भौतिक पूर्वाधार तत्काल निर्माण गर्नुपर्ने देखिन्छ । टर्मिनल बसपार्क र ठूलो सभाहल छैन । अहिलेसम्म सहरको गुरुयोजना छैन । अब आउने जनप्रतिनिधिले पोखरालाई सभ्य र समृद्ध सहर बनाउन एउटा गुरुयोजना बनाउन अपरिहार्य रहेको नागरिक समाजका संयोजक रामबहादुर पौडेल बताउँछन् । ‘गर्ने इच्छाशक्ति भएमा पोखरा अझै बिग्रिसकेको छैन । काम गर्न जति पनि सकिन्छ,’ उनले भने, ‘निर्वाचित जनप्रतिनिधिले पहिले बृहत् भेला, सुझाव संकलन, आवश्यकताको पहिचान गर्ने, विज्ञहरूको समितिमार्फत गुरुयोजना बनाएर अघि बढ्नु आवश्यक देखिन्छ ।’

पोखरामा नदी, खोला तथा सार्वजनिक जग्गा बढी अतिक्रमणमा परेका छन् । त्यसलाई रोक्नुपर्ने र अतिक्रमित क्षेत्र खाली गर्नुपर्नेमा पौडेलले जोड दिए । यतिबेला स्मार्ट सिटीको निकै चर्चा छ । आधारभूत आवश्यकताको पूर्ति नभई स्मार्ट सिटी कसरी बन्छ भन्दै संयोजक पौडेलले भोलि अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरामा थप पूर्वाधार आवश्यक पर्ने भएकाले सोही अनुसार योजना ल्याउनुपर्ने बताए ।उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले संघीयता र महानगरको भावनालाई आत्मसात गर्दै एकाकार भएर अघि बढ्नुपर्ने बताए । सडक सञ्जालको योजना बनाएर राजमार्ग र सहरी क्षेत्रको सवारी साधनको व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ । प्रदेशस्तरको बसपार्क र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन आवश्यक भइसकेको भन्दै उनले ग्रामीण क्षेत्रमा योजनाबद्ध ढंगले विकास गर्नुपर्ने बताए ।

एउटा गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा अहिलेसम्म कुनै प्रक्रिया नै नथालिएको र अब ढिलाइ गर्न नहुने सेवानिवृत्त इन्जिनियर किसानसिंह गुरुङ बताउँछन् । पोखराको विकासका लागि २०३१ मा आधिकारिक रूपमा योजना बनाइएको थियो । ‘गुरुयोजनाले दीर्घकालीन र अल्पकालीन योजना समेटेर विकास गर्ने लक्ष्य राखिए पनि कार्यान्वयन नहुँदा अहिले पोखरा भद्रगोल भएको छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न अब आउने जनप्रतिनिधिका लागि चुनौती छ ।’

पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले महानगरका लागि न्यूनतम पूर्वाधार निर्माणमा जोड दिइने बताए । ‘थुप्रै पूर्वाधार पूरा भएको अवस्था छ,’ उनले भने, ‘नभएकाको हकमा पूरा गर्न पहल गरिनेछ । यसका लागि एउटा योजना बनाएर अघि बढिनेछ ।’ पूर्वाधार निर्माणमा आन्तरिक स्रोतले नपुगेमा केन्द्रसँग अनुदान माग्न सकिने उनको भनाइ छ ।

Page 10
शिक्षा

विद्यालय हाँक्दै गुरूआमा

काठमाडौं– वैशाख लागेसँगै विद्यार्थी भर्ना अभियान र पठनपाठन सुरु भएको छ । काठमाडौं जिल्लामा २ सय ८५ सामुदायिक विद्यालय छन् । तीमध्ये केहीमा महिला प्रधानाध्यापक छन्, जसले संघर्षबाट नेतृत्व लिएका हुन् । उनीहरूले सरकारी शिक्षकले जागिरे मानसिकता त्याग्नुपर्छ भन्ने अठोट लिएका छन्, विद्यार्थी संख्यासँगै शैक्षिक गुणस्तर बढाएका छन् । बोर्डिङ स्कुलको तुलनामा सामुदायिक कमजोर छैन भन्ने बुझाउन सफल भएका छन् । फलस्वरूप बोर्डिङ छाडेर सामुदायिक विद्यालय आकर्षण गराउन सकेका छन् । विद्यालयको आयस्रोतको अभावमा ‘हुनेसँग वार्षिक सहयोग’ लिने गरेका छन् । प्रस्तुत छ, नयाँ भर्नालाई लिएर महिला शिक्षक समाजद्वारा आयोजित अन्तरक्रियामा सहभागी नौ जना प्रधानाध्यापकले सुनाएका अनुभव :

जानुका नेपाल
प्रधानाध्यापक, नीलबाराही मावि, कालिमाटी

कक्षा १२ सम्म सुचारु छ । कुल ९ सय ४५ विद्यार्थीमध्ये कक्षा १० सम्म ६ सय ३५ थिए । नयाँ सत्रको लागि भर्ना लिने क्रम जारी छ । स्थानीय विद्यार्थी एकाधमात्र छन् । विभिन्न जिल्लाका विद्यार्थी छन् । कालिमाटी तरकारी बजारमा व्यापार गर्ने अभिभावकका छोराछोरी हाम्रा विद्यार्थी हुन् । ठाउँअनुसार विद्यालय भौतिक पूर्वाधार पुगेकै छ । भूकम्पपछि पुरानो भवन रेट्रो फिटिङ गरिएको छ । बिहान प्लस टु चल्छ । दिउँसो छ सयले पढ्छन् । त्योभन्दा बढी क्षमता छैन । कक्षा १० सम्म २४ जना शिक्षक छौं । त्योभन्दा माथिसमेत गरेका ४५ जना पुग्छ । भर्नाभन्दा शैक्षिक गुणस्तरलाई प्राथमिकता दिँदै छौं । विद्यार्थी आफैं आउँछन् । कक्षालाई बालमैत्री बनाउन तालिम चलाएका छौं । पाठ्यपुस्तक अहिलेसम्म पाएका छैनौं । हामीले अंग्रेजी माध्यमबाट पढाउछौं । यो वर्ष कक्षा ८ सम्म पुग्दै छ । अंग्रेजी माध्यममा जनक शिक्षाले छापेको पुस्तक कक्षा ६ देखि लागू गर्ने भन्ने छ । तर अहिलेसम्म छापिएकै छैन भन्ने सुनिन्छ ।

डा. गीता खरेल शिवाकोटी
प्रधानाध्यापक, रत्नराज्य मावि, मध्यबानेश्वर

विद्यार्थी चाप अत्यधिक छ । बोर्डिङका विद्यार्थी ओइरिएका छन् । वैशाख २ गते प्रवेश परीक्षा लिएर दुई सयलाई नयाँ भर्ना लियौं । सभासदका छोराछोरी छन् । भर्ना फाराम लिन रोकेका छौं । स्कुलका शिक्षकका छोराछोरी त्यही विद्यालयमा पढाउने नीति छ । भूकम्पले २७ कोठा क्षतिग्रस्त भयो । सरकारका तर्फबाट एडीबीले बनाइदिन्छ भन्ने छ । हामी शिक्षक आफैंले रकम उठाउन थाल्यौं । समुदाय गुहारेर लगभग १ करोड रुपैयाँ उठाएर ६ कोठे भवन बनायौं । ठाउँको अभावमा ग्यारेज, अतिरिक्त क्रियाकला हल, कम्प्युटर ल्याबमा पनि विद्यार्थी राखेका छौं । कक्षा ९ मा साढे दुई सय, १० मा दुई सय भर्ना भइसके । ९ मा ए, बी, सी, डी, ई सेक्सन खोल्यौं । पढदै आएकाले छाड्दैनन् । भर्ना अभियान चलाउनुपरेन । विद्यार्थीले बस्ने स्टुल लिएर आउँछौं भन्छन् । समर्पित भएर लाग्ने हो भने समुदायको विश्वास जित्न सकिन्छ । ५७ जना दरबन्दी, तीनजना प्लस टु र कम्प्युटर शिक्षक आफ्नै स्रोतमा राखेका छौं । शिक्षकलाई समान ढंगले दस–चारको समयमा खटाउँछौं । पाँचसम्म अंग्रेजी माध्यम र कक्षा ६ देखिमाथि आधा नेपाली माध्यममा सुचारु छ ।  

भगवती पोखरेल
प्रधानाध्यापक, पञ्चकन्या मावि, छाउनी

म यो विद्यालयमा २०३० सालदेखि छु । उतिखेर समुदायले नै यो स्कुल बनाएको हो । अहिले समुदायले सहयोग गर्छन् तर उनीहरूको बालबालिका पढदैनन् । माध्यमिक भए पनि मावि शिक्षक दरबन्दी छैन । शैक्षिक योग्यता पुगेका तर प्रावि तह शिक्षकले पढाइरहनुभएको छ । प्राय: सबैजना बीए, बीएड, एमएड छन् । त्यसैले पनि सहयोग मिलेको छ । कक्षा १० सम्म सुचारु छ । साढे दुई सयजति विद्यार्थी छन् । सबै बाहिर जिल्लाका छन् । सैनिक, मजदुरी गर्नेका छोराछोरी छ । पढाइ स्तर र पास प्रतिशत राम्रै छ । भर्खरै अंग्रेजी माध्यमबाट सुरु गरेका छौं । विद्यार्थी संख्या कम हुँदै जानुचाहिँ दु:ख लाग्दो छ । कम्प्युटर व्यवस्था गर्दै छौं ।

मञ्जु तुलाधर
प्रधानाध्यापक, सहिद शुक्र मावि, बागबजार

१० वर्षदेखि प्रअ छु । कक्षा १० सम्म पढाउँछौं । विद्यार्थी ४ सयजति छन् । नेवार बस्ती भए पनि स्थानीय बालबालिका कम आएका छन् । भृकुटीमण्डपमा व्यापार गर्ने, मजदुरी गर्ने अभिभावकका छोराछोरी हाम्रा विद्यार्थी छन् । सामुदायिक विद्यालयका स्थायी शिक्षक बोर्डिङमा पनि पढाउँछन् । उहाँहरू भन्नुहुन्छ, विद्यार्थीको पढाइ कमजोर छ, होमवर्क गर्दैनन् । बोर्डिङमा तुरुन्तै गर्छन् । म भन्ने गर्छु, जानेकोलाई भन्दा नजानेकोलाई सिकाऔँ । विद्यार्थीको गहना भनेकै नजान्नु हो । कक्षा कोठाको कमीले गर्दा बिहानी र दिउँसो कक्षा चल्छ । जसले गर्दा केही बाधा पुगेको छ । भूकम्पले त्यति प्रभाव परेको छैन । २२ वटा सटर भाडामा दिएका छौं । आम्दानीबाट विद्यालयको नयाँ भवन बनेको छ । सिकाइ उपलब्धि प्राप्तिका निम्ति नयाँ विधिबाट अपनाएका छौं । शिक्षण तालिमलाई व्यवस्थित गरेका छौं । समाजको माझमा केही राम्रो देखिन थालेका छौं । अंग्रेजी माध्यम, डायरीको व्यवस्था गरेका छौं । विद्यार्थीलाई सुविधा दिलाउन प्रयासरत छौं ।

मैया मल्ल
प्रधानाध्यापक, बालविकास मावि, इचंगु नागार्जुन

स्कुल पहाडको कुनामा छ । ०४९ सालदेखि हेडमास्टर छु । साढे चार सय विद्यार्थी थिए । यो पटक धेरै नयाँ विद्यार्थी थपिएका छन् । बोर्डिङ छाडेर आएका छन् । स्थानीय ५ प्रतिशत छन् । शिक्षक २५ जना छौं । सहयोगदाता धेरै आए । सबै सेवा सुविधा छ । भूकम्पपछि । विद्यालय व्यवस्थापन ज्यादै राम्रो छ । महिला हेड मिसले धेरै राम्रो गर्नुहुन्छ भनेर सघाउनु हुन्छ । भौतिक व्यवस्थापन चुस्त छ । सबै महिला राम्रो पनि छैनन्, सबै पुरुष खराब पनि छैनन् । तैपनि महिला नेतृत्व खराब छैन भन्ने सावित गरेको छु भन्ने लाग्छ ।

रिता तिवारी
प्रधानाध्यापक, पद्मकन्या विद्याश्रम मावि, डिल्लीबजार

कक्षा १२ सम्म पढाउँछौं । ९ सय ५० पढ्छन् । छात्रा मात्रै पढ्नु आफैंमा रमाइलो छ । शिक्षक महिला र पुरुष दुवै छौं । स्पष्ट बोल्छन् । एक अभिभावकको दुई छोरा–छोरी छ भने एउटै स्कुलमा पढाउन खोज्छन् । त्योचाहिँ हाम्रो निम्ति चुनौती छ । यो ऐतिहासिक स्कुल जुन २००४ सालमा पद्मशमशेरले खोलेका हुन् । महिलालाई पढाउन भनेर विशेष स्कुल हो । यहाँका विद्यार्थी उच्च ओहदामा पुग्नु भएको छ । त्यो इतिहासलाई जोगाउनु हाम्रो दायित्व हो । गत वर्षदेखि कक्षा ९ मा प्राविधिक धारमा सिभिल इन्जिनियरिङ पढाइ थालेका छौं । छात्राहरू अझ आकर्षित होऊन् । दीर्घकालीन बन्न सकोस् भनेर । बोर्डिङ छाडेर आएका छन् । सरकारले व्यवस्थापन गर्न सघाएको छ । १३ रोपनी क्षेत्रफलमा छ । प्राविधिक धारमा ४३ जना छन् । कार्पेन्टरी, डकर्मी, सर्भे, फिल्ड भिजिट गर्छन् । बच्चाहरू अति क्रियाशील छन् । टीएसएलसी गरेर स्वरोजगार बन्छन् । भारतीय दूतावासको सहयोगमा एक सयजना अट्ने छात्रावास बन्दै छ । होस्टलमा शुल्क लिइन्छ । हामी हरेक शनिबार जाँच लिन्छौं ।

गीता काफ्ले
प्रधानाध्यापक, नन्दी मावि, नक्साल

दुई वर्षदेखि नेतृत्व सम्हाल्दै छु । कक्षा १० सम्म पढाउँछौं । गत वर्ष साढे चार सय विद्यार्थी थिए । यो सत्रमा बोर्डिङबाट सयजना जति भर्ना हुन आएका छन् । भर्ना साढे पाँच सय भइसकेका छन् । भर्ना हुने क्रम जारी छ । बाहिरबाट आएका विद्यार्थी बढी छन् । कक्षा १–१० सम्मै अंग्रेजी माध्यमबाट पढाइन्छ । पाठ्यपुस्तक पर्याप्त पाएका छैनौं । कुन कुन प्रकाशनको
पाठ्यपुस्तक पढाउने भन्ने लिस्टको तयारी हुँदै छ । नन्दी मावि भूकम्पले भुइँमा पुगेको विद्यालय हो । भूकम्प वरदान सावित भएको छ । हामीसँग उभिने ठाउँ पनि थिएन । पालमा कक्षा चलाएका थियौं । अहोरात्र खटेर सेना, स्थानीय स्वयंसेवकको सहयोगले भग्नावशेषहरू व्यवस्थापन गर्‍यौं । दाताको सहयोगमा भौतिक पूर्वाधार राम्रै बनेको छ । ३९ जना शिक्षक छौं । कार्यविभाजन गरेका छौं । दुई सहायक प्रधानाध्यापक र अरू विभाग गठन गरेका छौं । अंग्रेजी, गणित, सामाजिक, नेपाली विभागले आ–आफ्नो विषय निगरानी राख्छन् । यस पटकबाट कम्प्युटर आईटी विभाग थपेका छौं ।

सुजाता राजलवट
प्रधानाध्यापक, धूम्रबराह मावि, धुम्बाराही

कक्षा १० सम्म पढाइ हुन्छ । गत वर्ष पाँच सय दश विद्यार्थी थिए । यो वर्ष चार सय ७५ जना भर्ना भइसकेका छन् । विद्यार्थीहरू गाउँबाट फर्किन क्रममा छन् । नयाँ चालिस जना भर्ना भएका छन् । स्थानीय न्यून छन् । कक्षा ६ देखि १० सम्म बढी छन् । यो वर्ष निर्वाचनको सामग्री छपाईले गर्दा पाठ्यपुस्तक पाएका छैनौं । बाल विकासमा खाजा दिने गरेका छौं । भूकम्पपछि युनिसेफले सहयोग गरेको छ । विद्यालयको कम्पाउन्ड वाल बन्न नसक्दा समस्या भएको छ । शिक्षक १८ जनामात्र छौं, पुगेको छ । वार्षिक कार्यतालिका बनाइसकेका छौं । यो वर्ष निजी विद्यालयसँग मिलेर शिक्षक तालिम दिलाउन पायौं । ब्रिटिस काउन्सिलको सहयोगमा नन्दी माविमा एकसाथ तालिम भयो । अंग्रेजी माध्यम आकर्षणको पक्ष बनेको छ । अभिभावकले अंग्रेजी जान्यो भने केके भन्ने लाग्दोरहेछ । त्यसैले हामीले गत वर्षदेखि थाल्यौं । तर समस्या छ । बाहिरी जिल्लाबाट आउने विद्यार्थीलाई समस्या छ । त्यसैले सिकाइमा समस्या छ ।

कुमारी कमला राई
प्रधानाध्यापक, जनकल्याण मावि, बौद्ध महांकाल

म २०५१ सालदेखि जनकल्याण माविमा कार्यरत छु । खोटाङबाट सरुवा भएर आएको हो । तुलनात्मक रूपमा गाउँभन्दा पढ्ने वातावरण सहरमै बढी हुन्छ । तर, सहरमा सामुदायिक विद्यालयका विद्यार्थी सबै कामदारका छोराछोरी हुन्छन् । पढेलेखेका अभिभावकले सामुदायिकमा पढाउन ल्याए हामी बोर्डिङभन्दा कुनै कमी हुन दिँदैनौं । गत साल साढे १२ सय विद्यार्थी थिए । यो पटक पुराना नियमित ५ सय ८० र नयाँ झन्डै २ सय भर्ना भइसकेका छन् । भर्ना क्रम जारी छ । बढ्छ, घटदैन । कक्षा ५ देखि ८ सम्म भर्ना चाप छ । भूकम्पले चिरा परेको भवन बनाउन दाता खोजी गर्‍यौं । चिनियाँ दूतावासमार्फत नेपाल–चाइना कैलाश कल्चरल प्रोमोसन डेभलपमेन्ट भन्ने संस्थाको सहयोगमा पुनर्निर्माण भइरहेको छ । विद्यालयमा २०५३ देखि पुस्तकालय छ । १०–१२ हजार पुस्तक छन् । विद्यालय व्यवस्थापन समिति, स्टाफ अनुशासन मेन्टेन भएको छ । कार्ययोजना क्यालेन्डर वितरण गरेका छौं । लेभलअनुसार छोराछोरीसहित अभिभावक भेला गराउँछौं । तपाईंलाई हाम्रो छोराछोरी जिम्मा लगाएका छौं हेडम्याम भन्नुहुन्छ ।

ल प्रस्तुति : गणेश राई

शिक्षा

चोला फेर्‍यो दुर्गमको विद्यालयले

- कान्तिपुर संवाददाता

गुन्सीभदौरे (रामेछाप)— नेपालप्रेमी जर्मन नागरिकको स्वेच्छिक सहयोगमा रामेछापको विकट क्षेत्र मानिने गुन्सी–भदौरेमा सेवा–सुविधा सम्पन्न सरकारी विद्यालय निर्माण भएपछि गाउँलेहरू औधि खुसी भएका छन् ।

स्थापनाको स्वर्ण जयन्ती मनाइसकेको शतलिङ्गेश्वर उच्च माध्यमिक विद्यालयको जीर्ण अवस्था देखेर जर्मनीस्थित सुलरहिल्फे फर नेपाल (नेपालका लागि विद्यालय) अभियान र रोटरी क्लब गुएन्जबर्गको सहयोगमा ६ सय विद्यार्थी बस्न सक्ने दुईतले नेपाली शैलीको भवन बनाइएको हो । शनिबार विद्यालय भवन उद्घाटन समारोहमा सहभागी हुन आएका सुलरहिल्फे फर नेपाल संस्थाका प्रमुख एवं मुख्य दाता एर्नष्ट क्लिमर र योर्ग बारले ‘दुर्गम पहाडी क्षेत्रका बालबच्चाको भविष्यका लागि यो बिद्यालय निर्माण गरिएको’ मन्तव्य राखे । झन्डै ८० लाख रुपैयाँ खर्चेर विद्यालय भवनलाई नेपाली शैली र विशेषता समेटेर आरपी फाउन्डेसनले निर्माण गरेको हो । यसअघि पनि फाउन्डेसन समन्वयमा यही विद्यालय हातामा अर्को भवन निर्माण गरिसकिएको छ ।

‘यो विद्यालयमा रामेछापको दुरदराज र झन्डै २ घण्टाको पैदल बाटो छिचोलर विद्यार्थीहरू आउने गरेका छन्,’ विद्यालयका प्रधानाध्यापक एकनाथ चौंलागाईंले कान्तिपुरसँग भने, ‘दुई वर्षअघिको भूकम्पका कारण पनि रहेभएका भवनहरू क्षतिग्रस्त अवस्थामा थिए, आज जर्मनका नेपाल हितैषीले सहयोग गरिदिएर यो क्षेत्रमै इज्जत गर्न सकिने विद्यालय निर्माण भएको छ ।’ प्रधानाध्यापक चौंलागाईंका अनुसार, विद्यालय हस्तान्तरणको समारोहमा जर्मन दाताहरूले २० थान कम्प्युटर र सोलार प्यानलसमेत दिएका छन् । दाताले विद्यार्थीका सुविधायुक्त शौचालयसमेत बनाइदिएका छन् ।

आरपी फाउन्डेसनका अध्यक्ष सम्पदाविद् रवीन्द्र पुरीले जर्मनमा रहेका नेपालप्रेमी हितैषीको सहयोगमा अहिलेसम्म विभिन्न जिल्लामा ११ वटा सरकारी विद्यालय बनिसकेको जानकारी दिए । पुरीका अनुसार, सुलरहिल्फे फर नेपाल र सुलेन फर नेपाल नामका दुइटा संस्थाको समन्वयले नेपाली परम्परागत शैली झल्कने गरी काभ्रे, रामेछाप, भक्तपुर, गोर्खा, नवलपरासी र नुवाकोटमा विद्यालय निर्माण भइसकेका छन् । फाउन्डेसनले मथुरापाटी माध्यमिक विद्यालय (फूलबारी, काभ्रे), प्रभा उच्च मावि (कात्तिके देउराली, काभ्रे), बाल उज्वल मावि (दाप्चा, काभ्रे), भीमेश्वर निमावि
(फूलबारी, काभ्रे), सरस्वती निमावि (सिपाडोल, भक्तपुर), शतलिङ्गेश्वर उच्च मावि (गुन्सीभदौरे, रामेछाप), श्रीकृष्ण उच्च मावि (दाप्चा, काभ्रे) निर्माण सम्पन्न गरिसकेका छन् । यसैगरी, फाउन्डेसनले जागृति निमावि (आशापुरी, काभ्रे), जनता उच्च मावि (आमपीपल, गोर्खा) र छत्तिसादेवी मावि (कोठार, नवलपरासी) निर्माण क्रममा राखेको छ ।

शिक्षा

यूजीसीको नियमावली पारित

- कान्तिपुर संवाददाता

काठमाडौं– सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को नियमावली पारित गरेको छ । मन्त्रिपरिषद्अन्तर्गतको विधेयक समितिले यूजीसीको नियमावली पारित गरेको शिक्षामन्त्री धनीराम पौडेलले जनाएका छन् ।

आयोग गठन भएको २४ वर्षपछि पहिलो पटक नियमावली बनेको हो । समितिको बैठकले ‘शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायनसम्बन्धी नियमावली’ लाई स्वीकृत गरेको हो ।

विश्वविद्यालय अनुदान आयोगसम्बन्धी ऐन, २०५० को दफा १९ भएको व्यवस्थाअन्तर्गत नियमावली निर्माण गरिएको मन्त्रालयले जनाएको छ । नेपालको उच्च शिक्षामा अन्तर्राष्ट्रिय मान्यता अनुरूप शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले नियमावली निर्माण गरिएको हो । तीन परिच्छेद र १९ बुँदामा समेटिएको नियमावलीमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको नेतृत्वमा ११ सदस्यीय शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् रहने व्यवस्था गरिएको छ । उच्च शिक्षाको गुणस्तर सुनिश्चित गर्न आवश्यक मापदण्ड, मानक तथा सूचकहरू निर्माण गर्ने व्यवस्था छ ।

Page 11
शैली

“डायरी” ले बढायो छुल्ठिमको धड्कन

- सुशील पौडेल

काठमाडौं– फिल्म रिलिज हुन एक साता मात्रै बाँकी रहँदा छुल्ठिम गुरुङको बेचैनीको पारो हात्तै बढेको छ । उनी ‘डायरी’ की नायिका त हुन् नै, निर्माता पनि । पहिलो पटक निर्माणमा हात हालेकीले पनि छुल्ठिमका लागि यो फिल्मको व्यावसायिक सफलताले अझ बढी अर्थ राख्छ ।

‘निर्माणमा हात हालेर अहिले नै गाह्रो भए पनि भोलिका दिनमा यो कामले गर्व महसुस हुन्छ भन्ने लाग्छ,’ आत्मविश्वासी बन्दै छुल्ठिमले भनिन्, ‘कामबाट आउने सुखद प्रतिक्रियाले ती गाह्रोहरू फिक्का लाग्ने रहेछ । फिल्म सुटिङमा छँदा मलाई कति दु:ख थियो, अहिले त सबै भुलें ।’

उनलाई फिल्मको ट्रेलर र गीतका लागि आएका प्रतिक्रियाले फिल्मको सफलताप्रति आशा बढाएको रहेछ । डेब्यु फिल्म ‘नोभेम्बर रेन’ मा आर्यन सिग्देल र नम्रता श्रेष्ठसँगै रहेर पनि आफ्नो ‘डल्ली’ चरित्रबाट छुट्टै छाप राख्न सफल भएकी छुल्ठिमलाई सम्भावनायुक्त कलाकार भनी चर्चा गरिएको थियो । तर बीचको केही समय उनी हराइन् । यति बेला भने अनिल योञ्जनको निर्देशनमा ‘डायरी’ मा उनी मात्रै आइनन्, सन्नी सिंहलाई पनि नायकमा डेब्यु गराएकी छन् ।

इलेक्ट्रोनिक्स इन्जिनियर भई सन् २०१२ देखि सन्नीले बहराइन, श्रीलंका, भारत र नाइजेरियामा कामको अनुभव लिइसकेका छन् । ‘पढाइसँगै मलाई मोडलिङमा पनि इन्ट्रेस्ट थियो,’ म्यानहन्ट इन्टरनेसनल नेपाल, २०१३ को उत्कृष्ट पाँचमा पर्दै मिस्टर फोटोजेनिकको सबटाइटल जितेका सन्नीले भने ।

सनी त्यसपछि भने मोडलिङमा पनि रमाउन थाले । ‘मोडलिङपछि नेक्स्ट स्टेप के त भन्दा फिल्म नै थियो,’ उनले भने, “डायरी’ को अडिसन लिइँदै छ भन्ने थाहा पाएपछि दिएँ । सेलेक्ट भएपछि एक्टिङ, डान्स र फाइटका क्लास ज्वाइन गरें ।’रिभेन्ज लभस्टोरी भनिएको ‘डायरी’ मा उनको चकलेटी लभरब्वाईको लुक्स र एंग्री म्यान लुक्स दुवै देखिएको छ । सन्नीले सुनाए, ‘राम्रो काम गरेको जस्तो लाग्छ । अरूले पनि फस्ट टाइम यत्तिको गर्नु धेरै राम्रो भन्नुहुन्छ । यसले गर्दा मेरो मनोबल भित्रैदेखि बढेको छ ।’ त्यसो त सन्नीलाई ट्रेलर आएपछि साथीहरूले ‘मम, पानी पर्‍यो’ भन्ने संवादलाई लिएरसमेत जिस्काउन थालेका रहेछन् । आगामी दिनमा सन्नी फिल्म र पेसालाई सँगसँगै तालमेल मिलाएर लैजान चाहन्छन् । परिवारको समेत साथ पाएका सन्नीले भने, ‘अब अहिले त म फिल्ममा नै फोकस छु ।’

छुल्ठिमले निर्माताको समेत परिचय थपिरहँदा फिल्मको व्यापारको नतिजाले एक्टिङ करिअरमा चाहिँ कत्तिको असर पार्ला ? उनले प्रस्टयाउन चाहिन्, ‘निर्माण र अभियन दुई फरक पाटा हुन् । मैले यो कुरा सोचेरै, विचार गरेरै हात हालेकी हुँ । म पहिले त कलाकार नै हुँ । मेकरका हिसाबले म सफल भइनँ भने पनि कलाकारका रूपमा म कत्ति पनि विचलित हुनेछैन । फेरि मेकरका रूपमा पनि मलाई दर्शकले स्वीकार गर्नुभयो भने त मेरो लागि त्योभन्दा खुसीको कुरा अरू हुनै सक्दैन ।’

पहिले छुल्ठिम कलाकार भएर मात्रै भई काम गर्ने सुरसारमा थिइन् । ‘पछि स्क्रिप्ट फाइनल भयो । निर्देशक आफैंले पनि लगानी गर्ने हुनुभयो । मैले पनि यदि यही फिल्डमा लङ टर्म जाने हो भने जग बलियो हुनुपर्छ भन्ने सोचले अहिले नै किन नगर्ने त भन्ने लाग्यो । टिम राम्रो थियो । ‘डायरी’ मेरा लागि राम्रो सुरुवात हुन सक्छ भनेर पनि अवसरलाई गुमाउन नचाहेको हो ।’

छुल्ठिमले ‘डायरी’ को स्क्रिनप्ले र कास्टिङ सबैभन्दा सशक्त रहेको दाबी गरिन् । क्यारेक्टरकै रूपमा पनि ‘नोभेम्बर रेन’ मा टमब्वाई शैलीमा देखिएकी छुल्ठिम ‘डायरी’ मा चुलबुले, बब्ली लुक्सकी कल्पनामा डुब्ने खालकी छन् रे ।चरित्रकै हिसाबले त हरेक फिल्ममा नायिकाका रूपमा देखिँदै आएकी रेखा उक्त फिल्ममा भिलेनको रोलमा देखा पर्दै छिन् । रेखालाई उक्त रोलमा खेल्न मनाउन गाह्रो परेन ? छुल्ठिमले भनिन्, ‘केही पनि गाह्रो भएन । ऊ मेरो एकदम राम्रो साथी हो । उसले पनि केही नयाँ गर्न खोजिरहेको थियो । स्क्रिप्ट सुनाएपछि मन पनि परायो । अहिले त ट्रेलर हेरेपछि सबैभन्दा तारिफ पाएको चरित्र पनि रेखाकै छ ।’

अझ छुल्ठिम त अहिलेसम्मको क्यारेक्टरमा सबैभन्दा बलियो र राम्रो क्यारेक्टर सायद रेखाले ‘डायरी’ मा गरेकै हो भनी दाबी गर्न पछि परिनन् । निर्देशक अनिलकै पटकथा रहेको फिल्मलाई छुल्ठिमले पूर्णत: व्यावसायिक फिल्म भन्न रुचाइन् । भनिन्, ‘फिल्ममा मनोरञ्जन नै पहिलो सर्त हुन्छ । जो पनि फिल्म हेरेर खुसी भएर फर्कन चाहनुहुन्छ । ‘डायरी’ फुल्ली कमर्सियल फिल्म हो, जसमा तपाईंले लभ, एक्सन, कमेडी, इमोसन्स हेर्न सक्नुहुन्छ । दुई घन्टा २० मिनेट खेर जाँदैन ।’फिल्ममा जोयाको भूमिकामा देखिन लागेकी छुल्ठिमले दर्शकलाई जेठ ५ देखि देशभर पल्टिन लागेको आफ्नो ‘डायरी’ हेरेर रमाउन आग्रह गरिन् ।

शैली

नेपाली फिल्म क्षेत्र कस्तो हुनुपर्छ ?

- कान्तिपुर संवाददाता

काठमाडौं– नेपाली फिल्म राम्रा भएनन्, हेर्न लायक बनेनन्, फिल्म फेस्टिभल पर्याप्त भएनन् भन्ने खालका गुनासा धेरै सुनिन्छन् । थापाथलीस्थित डकस्कुलले गरेको कार्यक्रममा पनि यस्तै दुखेसा सुनिए । गुनासा बढी आएपछि फिल्म निर्देशक मनोज पण्डितले प्रसंग मोड्न चाहे । ‘खासमा तपाईंहरू नेपाली फिल्म वा फिल्म क्षेत्र कस्तो भएको हेर्न चाहनुहुन्छ ?’ उनले सोधे ।

अनि, निलो मार्कर लिएर हाइट बोर्डनिर उभिए । कार्यक्रममा उपस्थित फिल्म पत्रकार, समीक्षक, निर्देशक, फेस्टिभल आयोजकलगायतले पालैपालो आ–आफ्ना रहर सुनाए । कसैले नेपालमा धेरै फिल्म फेस्टिभल आयोजना भएको हेर्न चाहेको बताए भने कसैले फिल्म लाइब्रेरी, फिल्म जर्नल आदि बनेको देख्न चाहे । पण्डित ती रहरहरू फटाफट बोर्डमा टिप्न थाले ।
पत्रकारमध्ये केहीले इन्डिजेनस फिल्महरूले पनि ठूलो भिजिबिलिटी पाएको हेर्ने रहर सुनाए भने निर्देशक सचिन घिमिरेले फिल्म एकेडेमी बनेको देख्न चाहे । एक दर्जन इच्छा–आकांक्षा बटुलिसकेपछि आयोजक डकस्कुलसँग तिनै विषयमा सोधपुछ गर्‍यो । नेपाली फिल्म प्रवद्र्धनका लागि अभियान चलाउँदै आएको डकस्कुलले यथाशीघ्र फिल्म लाइब्रेरी खोल्ने प्रतिबद्धता जनायो ।

‘हामीसँग किताब प्रशस्त छन्’, डकस्कुलका संस्थापक निर्देशक क्षितिज अधिराजले भने, ‘कोठा पनि छ । जुन ३० मा फिल्म लाइब्रेरी उद्घाटन गर्नेर्छौं ।’टिपोट गरिएका अन्य विषयमा छलफल गर्दै जाने पनि क्षितिजले बताए । फिल्म निर्माण र प्रदर्शनमा कहाँनिर के नपुगेको भन्नेबारे कार्यक्रममा जान्न खोजियो, फिल्म फेस्टिभलको अवस्थाबारे कुराकानी भयो । डकस्कुलले सञ्चालन गरिआएको ‘क्लिनिक डट काठमान्डु’ बारे पनि जानकारी गराइयो ।

दक्षिण एसियाली फिल्ममेकरका लागि खोलिएको प्रोजेक्टमा ‘राइटिङ प्रोग्राम’, ‘एसिया थ्रेड्स’ र ‘क्लिनिक रिजनल’ विधामा दरखास्त आहान गरिएको छ । यी कार्यक्रममा फिल्मसम्बन्धी कार्यशाला आयोजना गरिन्छन् जसमा युरोपबाट स्क्रिप्ट कोचहरू ल्याउने क्षितिजको भनाइ थियो ।
‘यो हाम्रो चौथो कार्यशाला हो,’ उनले भने, ‘यसअघिका कार्यशालाबाट चार वटा फिल्म बनाइसक्यौं ।’ उनका अनुसार भारतका तीन र म्यान्मारको एक फिल्ममेकरको प्रोजेक्ट तयार भएको छ ।

क्षितिज भने नेपाली फिल्मकर्मी पनि कार्यशालामा सहभागी होऊन् भन्ने चाहन्छन् । ‘अहिलेसम्म विदेशीले मात्रै फर्म भरेका छन्,’ उनले भने, ‘हामीसँग जोडिनु भनेको ग्लोबल एक्सेस बढाउनु हो ।’ कार्यशालाका लागि काभ्रेको धुलिखेलमा ‘इहा आर्ट कोलाबोरेटरी’ नामक आवास बनाइएको छ । कार्यशालामा भाग लिएकाहरूले आवासलाई पछि पनि प्रयोग गर्न पाउनेछन् । फिल्ममेकरलाई त्यहाँ शान्त र स्रोतसाधनपूर्ण वातावरण त मिल्छ नै, विज्ञहरू पनि उपलब्ध हुनेछन् ।आउँदो डिसेम्बरमा सुरु हुने १० दिने कार्यशालाको शुल्क ३५ हजार रुपैयाँ तोकिएको छ ।

डकस्कुल बहस

  • फिल्म फेस्टिभल धेरै हुनुपर्‍यो ।
  • इन्डिजेनस फिल्महरुले ठूलो भिजिबिलिटी पाउनुपर्‍यो ।
  • फिल्म एकेडेमी बन्नुपर्‍यो ।
शैली

फिल्ममा श्रीदेवीको आधा शताब्दी

हिन्दी फिल्मको पहिलो महिला सुपरस्टार मानिन्छ श्रीदेवीलाई । सन् १९६० कै दशकदेखि फिल्म खेल्न थालेकी उनी यसपालि फिल्म उद्योगमा
आफ्नो स्वर्ण जयन्तीको खुसीयाली मनाउँदै छिन् । आफ्नो ३०० औं फिल्म ‘मम’ को प्रतीक्षामा रहेकी उनलाई ट्ेरलरबाट चौतर्फी तारिफ मिलिरहेको छ ।

दक्षिण भारतका वितरकले पनि उनको फिल्मलाई समर्थन गरेका छन् । फिल्म हिन्दी, तामिल, तेलुगु र मलयालम भाषामा डबिङ भइसकेको छ । फिल्मका निर्माता एवं श्रीदेवीका पति बोनी कपुरका अनुसार टिजर बाहिर आउनासाथ अनलाइन वितकरले यसको माग गरेका थिए । फिल्मप्रतिको उत्सुकता निकै बढिरहेको उनले बताए ।

श्रीदेवीले फिल्म खेलेको ठयाक्कै ५० वर्ष पुग्ने दिन अर्थात् जुलाई ७ मा ‘मम’ रिलिज हुँदै छ । यही दिन सन् १९६७ मा उनको पहिलो फिल्म ‘कंदन करुनई’ प्रदर्शन भएको थियो । त्यो फिल्म गर्दा उनी चार वर्षकी मात्र थिइन् । त्यसपछि उनले ‘जुली’ मा पनि बालकलाकारका रूपमा अभिनय गरिन् ।

सन् १९७८ मा बनेको ‘सोलह सावन’ बाट भने उनले मुख्य कलाकार भएर काम गर्न थालिन् । ‘जुदाई’ मा काजल वर्माको भूमिकामा देखिएपछि उनलाई त्यो बेलाका सबै फिल्म अवार्डमा सर्वोत्कृष्ट अभिनेत्रीको ट्रफी दिइयो । त्यसको निर्माण श्रीदेवीका ससुराले गरेका थिए । ‘हिम्मतवाला’, ‘तोहफा’, ‘मिस्टर इन्डिया’, ‘नागिन’ जस्ता फिल्मले उनलाई बलिउडकी सर्वाधिक व्यस्त र खोजिएकी अभिनेत्री बनाइदिएका थिए ।

श्रीदेवी र जया प्रदा आफ्नो जमानाका ठूला प्रतिस्पर्धी थिए । उनीहरूबीच राम्रो सम्बन्ध थिएन । कतिसम्म भने ‘मकसद’ को छायांकनका क्रममा श्रीदेवी र जयालाई एउटै कोठामा थुनेर राख्नुपरेको थियो । राजेश खन्ना र जितेन्द्रले दुवैलाई थुनेर बोलचाल गराउन चाहेका थिए । अभिनेत्रीहरू भने एक–अर्काको अनुहार समेत हेर्न नरुचाउने भएकाले दुई घण्टापछि ढोका खोल्दासमेत उनीहरू मुन्टो फर्काएरै बसेको पाइएको थियो रे ।

निर्देशक इन्द्र कुमारले ‘बेटा’ फिल्मका लागि सुरुमा श्रीदेवीलाई प्रस्ताव गरेका थिए । अनिल कपुरसँग धैरे काम गरेकाले अब अरू नगर्ने भन्दै उनले अस्वीकार गरिदिएपछि माधुरी दीक्षितले ठाउँ पाएकी थिइन् । सोही फिल्मबाट माधुरी रातारात सुपरस्टार बनिन् ।बलिउडका चर्चित अन–स्क्रिन जोडीमध्ये जितेन्द्र र श्रीदेवीको जुगलबन्दी निकै रुचाइन्थ्यो । उनीहरूलाई करिब डेढ दर्जन फिल्ममा एक–अर्काका जोडीको रूपमा देख्न सकिन्छ । तीमध्ये ‘हिम्मतवाला’, ‘घर संसार’ गरी ११ वटा त ब्लकबस्टर नै भए । श्रीदेवीलाई भारत सरकारले सन् २०१३ मा पद्मश्री अवार्ड दियो । उनले पाँचवटा फिल्म फेयर अवार्ड जितिसकेकी छन् ।

श्रीदेवी १९८० तिर भारतकी सर्वाधिक महँगी अभिनेत्री थिइन् । बलिउड प्रवेश गर्दा उनलाई हिन्दी राम्ररी बोल्न आउँदैन थियो । अरूले नै उनको स्वर डब गरिदिन्थे । अमिताभ बच्चनसँगको ‘आखिरी रास्ता’ मा अभिनेत्री रेखाले श्रीदेवीलाई स्वर दिएकी थिइन् ।तमिलनाडुमा जन्मिएकी श्रीदेवीका दुई छोरी छन्– जाह्नवी र खुसी । दुवै बलिउडमा पदार्पण गर्न खोजिरहेका छन् । श्रीदेवीले सुरुमा मिथुन चक्रवर्तीसँग सुटुक्क बिहे गरेकी थिइन् । मिथुनले यो कुरा स्विकारेका छन् । तर, दुईबीचको सम्बन्ध दिगो भएन । श्रीदेवीले पछि दुई सन्तानका बाबु बोनी कपुरसँग बिहे गरिन् । यसरी उनी अर्जुन कपुरकी सौतेनी आमा बन्न आइपुगिन् ।

५४ वर्षे श्रीदेवी नाच्नमा पनि त्यत्तिकै कुशल मानिन्छिन् । ‘हवा हवाई...’, ‘नयनों में सपने...’, ‘मेरे हाथों में नौ–नौ चुडियाँ हैं...’ जस्ता गीतमा उनको नृत्य निकै रुचाइने गरिन्छ । नाच्नमा उनी कतिसम्म रत्तिन्थिन् भने, ‘चालबाज’ को गीत ‘ना जाने कहाँ से आया है...’ को छायांकनका क्रममा उनलाई १०३ डिग्री ज्वरो आएको थियो । यद्यपि, त्यसमा उनको नृत्यलाई सबैले तारिफ गरेका थिए ।

शैली

कोलोराडोमा नेपाली फिल्म

- कान्तिपुर संवाददाता

काठमाडौं– मुलुकबाहिर नेपाली फिल्म फेस्टिभलको क्रम बढ्दो छ । अमेरिकाको बाल्टिमोरमा फेस्टिभल सकेको एक साता नबित्दै बिहीबार अर्को फेस्टिभल घोषणा भएको छ । गतवर्षदेखि कोलोराडोमा सुरु भएको खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड यसपालि पनि हुने भएको हो ।

बिहीबार यसको दोस्रो शृंखला प्रेस विज्ञप्तिमार्फत काठमाडौंमा घोषणा गरियो । विज्ञप्तिअनुसार यसपटक अवार्ड कोलोराडोको डेनभरस्थित होटल क्राउन प्लाजामा आउँदो भदौ ३ गते सम्पन्न हुने भएको छ । नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली अवार्ड कमिटीको संयुक्त आयोजनामा हुने अवार्डमा विभिन्न फिल्म र कलाकारलाई उत्कृष्टताको आधारमा सम्मानित गरिने सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जनाए । कार्यक्रमको संयोजक शैलेश पोखरेल र समिति अध्यक्ष नवराज श्रेष्ठ रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

Page 12
देश

उमेर ४ वर्ष,तौल साढे ४ किलो

- अवधेशकुमार झा

सप्तरीको कोचाबखारी–२ की कुपोषणग्रस्त बालिका जीवछी दास आमाका साथ ।         तस्बिर : अवधेश/कान्तिपुर

राजविराज– कोचाबखारी–२ लोखरमका दिनेश दास र ममतादेवीकी ४ वर्षीया छोरी जीवछीको शरीरका हड्डी बाहिरबाटै प्रस्ट देखिन्छन् । शरीरका अंगहरूमा मासु लागेको देखिँदैन । खाना र पौष्टिक आहार नपाउँदा उनको अवस्था यस्तो भएको हो ।

छोरी जीवनमरणको दोसाँधमा पुगेपछि दिनेशले उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको पोषण पुन:स्थापना गृहमा भर्ना गराए । ४ वर्षीया जीवछीको तौल अहिले साढे ४ किलो मात्र छ । ‘यस्तो कुपोषणले ग्रसित बच्चा पोषणगृहमा आएको पहिलोपटक हो,’ गृहकी प्रबन्धक रश्मी झाले भनिन्, ‘बालिकाको अवस्था चिन्ताजनक छ ।’
यसअघि ६ महिना सोही गाउँकै १३ महिने नीलमकुमारी मण्डललाई पनि गृहमा भर्ना गरिएको थियो । उनीबारे समाचार सार्वजनिक भएपछि सहयोग जुटेको थियो । उपचारपछि घर फर्किइसकेकी छन् । कुपोषणले ग्रसित डाढाका शम्भु रामको उपचार नपाउँदा ६ महिनाअघि मृत्यु भएको थियो । पछिल्लोपटक ल्याइएकी बालिका जीवछी जन्मिदा स्वस्थ रहेको दिनेशले बताए । ‘जन्मिदा स्वस्थ नै थिइन्,’ उनले भने, ‘तर २ वर्ष भएपछि दुब्लाउँदै गइन् र आज हाडै देखिने अवस्था आयो ।’

दिनेश र ममताको चौथो सन्तान हुन्, जीवछी । यसअघि उनका ४ सन्तानको जन्मिँदै मृत्यु भइसकेको छ । जीवछी स्वस्थ जन्मिएपछि दिनेश र ममताले अब आफ्नो वंश अघि बढ्ने भन्दै खुसी मनाएका थिए । छोरी जन्मिएको २ वर्षमै यस्तो अवस्थामा पुगेपछि दिनेश उपचार खर्च जुटाउन ऋण काढेर मलेसिया गएका थिए । ‘म मलेसियामा कमाउँदै ऋण तिर्दै घरमा पैसा पठाउँथें,’ उनले भने, ‘मेरी पत्नी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कान्ति बाल अस्पताल काठमाडौंलगायत सबैतिर उपचार गराउँदै हिँडिन् तर निको भएन ।’

आर्थिक अभावमा अब छोरीको उपचार गर्न समस्या भएको उनले सुनाए । ‘घरबाहेक खेतीपाती छैन्, मिहेनत मजदुरी गरी दुई छाक टार्छु,’ दिनेशले भने, ‘पेट पाल्नै समस्या भएपछि कहाँबाट छोरीको उपचार गर्नु ?’ घरको अवस्थाका कारण अब विदेश कमाउन जान सक्ने अवस्थामा नरहेको उनले बताए । चौथो सन्तान पनि उपचार अभावमा मृत्युको मुखमा पुगेकाले सघाउन उनले संघ–संस्था र सहगोगी गुहारेका छन् ।

पोषणगृह प्रबन्धक झाले भनिन्, ‘उनलाई अति सघन तरिकाले उपचार गर्नुका साथै पौष्टिक खानपिनको व्यवस्थापन गर्न सके मात्र बचाउन सकिन्छ ।’ पोषणगृहमा ल्याएपछि दैनिक पौष्टिक आहार र उपचारको व्यवस्था मिलाइएको छ । जीवछी मात्र होइन जिल्लामा यसअघि पनि धेरै बालबालिका कुपोषणको सिकार भइसकेका छन् । ग्रामीण क्षेत्रमा अझै पनि ठूलो संख्यामा कुपोषणले ग्रसित बालबालिका रहे पनि चेतना अभावमा उनीहरूलाई अस्पताल वा पोषणगृहसम्म ल्याउन सकिएको छैन ।

चेतना अभावले कुपोषण
भोजपुर– सदरमुकाम भोजपुर नगरपालिका–४ सिद्धेश्वर मान्द्रेका निर्मला र प्रेमकुमार राउतको २०६८ मा विवाह भयो । परिवारको आर्थिक स्थिति कमजोर भएकाले विवाहपछि रोजगारका लागि प्रेम बिदेसिए ।उनी फर्किए पछि निर्मला गर्भवती भइन् । ०७२ माघ २ गते पहिलो सन्तानका रूपमा सुदीक्षा जन्माइन् । परिवारमा खुसी छायो । सामान्य अवस्थामा जन्मिएकी छोरी दिनदिनै असामान्य बन्दै गएपछि त्यो खुसी धेरै समय टिक्न सकेन् ।

सुदीक्षा १५ महिनाकी भइन् । शरीर र करङ सुक्दै गएको प्रस्टै देखिन्छ । शरीर कमजोर र सुस्त छ । टाउको ठूलो छ । पेट फुलेको छ । उनको तौल ५ किलो मात्रै छ । सुदीक्षा तेस्रो महिनाबाट विस्तारै सुस्त हुँदै आएकी आमा निर्मलाले बताइन् ।स्वास्थ्य झन् कमजोर हुँदै गएपछि उनीहरूले धामीझाँक्री लगाएर गाउँमै घरेलु उपचार गराए । गाउँलेले जागित्रा लागेको भन्दै धामी लाउन सल्लाह दिन्थे । तर, उपचारका लागि स्वास्थ्य संस्था जानुपर्छ भन्ने हेक्का निर्मला र उनको परिवारलाई भएन ।

छोरीको स्वास्थ्य अवस्था बिग्रँदै गएकोमा आमा आत्तिएकी छन् । ‘अरूका सँगैका नानीहरू छमछमी खेल्छन्, यसलाई के भएको हो, जति स्याहार गरे पनि हुन्न,’ आँसु झार्दै निर्मलाले भनिन् । उनले एक महिनाअघि उपचारका लागि छोरी च्यापेर अस्पताल पुगिन् । उनमा कुपोषणसँगै अन्य मानसिक रोग रहेकाले नोबेल अस्पतालमा रिफर गरियो । नोबेलमा समेत उपचार सम्भव नभएपछि भारत लैजान सुझाव दिइयो ।

छोरीको अवस्था देखेर हार खाएकी निर्मलाले भारत लगेर उपचार गर्न नसक्ने भएपछि विदेशमा रहेका पतिसँग सल्लाह गरी बिनाउपचारै घर फर्काएकी छन् । बिदेसिएका पतिको कमाइले दुई छाक खान पुगे पनि उपचार गर्नसक्ने अवस्था नरहेको निर्मला बताउँछिन् ।उनका अनुसार छोरीलाई जति नै पोषिलो खाना खुवाउन खोजे पनि खानै नमान्ने र खुवाएको पनि नपच्ने समस्या छ ।

ओछयानमा सुताएकी छोरी घण्टौं कालोनीलो देखिन्छिन् । श्वासप्रश्वास बन्द भएपछि परिवारले माया मारिसकेका हुन्छन् । तर, धेरै समयपछि पुन: पहिलेकै अवस्थामा फर्किन्छिन् । यस्तो असामान्य अवस्थाले परिवारमा निराशा छाएको छ । पतिले विदेशबाट उपचार गर्न त भन्छन्, धेरै खर्च लाग्ने भएपछि आँट्न नसकेको निर्मला बताउँछिन् । ‘आफ्ना सन्तानको माया आमाबाबुलाई हुन्न र ? उपचार गर्ने खर्च कसरी जुटाउनु ?’ उनले भनिन्।
अशिक्षा, गरिबी, चेतना अभावले जिल्लामा सदीक्षाजस्ता दर्जनौं बालबालिका कुपोषणबाट पीडित छन् । उनीहरूलाई सरकारी स्वास्थ्य संस्थाले उपचारमा सहुलियत, परामर्श तथा सहयोग गर्न सक्छन् । तर यहाँका कुपोषित बालबालिकाबारे सरकारी स्वास्थ्य संस्था नै अनभिज्ञ छन् । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा प्रशिक्षक एवं सूचना अधिकारी राजु श्रेष्ठले एकिन तथ्यांक नभए पनि कुपोषणले दुर्गम बस्तीका बालबालिका बढी पीडित रहेको बताए ।

देश

पहिरोले गाउँ चिराचिरा

- आनन्द गौतम
ताप्लेजुङ सदरमुकाम फुङलिङनजिक गएको पहिरो ।  फाइल तस्बिर : कान्तिपुर

ताप्लेजुङ– सदरमुकाम फुङलिङ प्रवेश गर्ने मार्गभरि पहिरैपहिरो छ ।
मेची राजमार्गको सेसम्बुदेखि सदरमुकामको तोक्मेडाँडासम्मै चिराचिरा परेको छ । सदरमुकामको ठीक पारिको खोक्लिङ र लिबाङको पहिरो पनि गएको गयै छ ।

हाङदेवा पहिरो पनि रोकिएको छैन । दुई वर्षअघि पहिरोमा परी बेपत्ता भएका खोक्लिङ, लिबाङ र थिङलाबुका दर्जन बढीको शव अझै भेटिएको छैन । पहिरो नै पहिरोले घेरिएको जिल्लाका बासिन्दा जब बर्खा सुरु हुन्छ, आत्तिन थालिहाल्छन् ।

पहिरोले जिल्लालाई बर्सेनि पिरोल्ने गरेको छ । प्रहरीका अनुसार पहिरो नगएको कुनै वर्ष छैन । १९८२ सालदेखि यो जिल्लामा पहिरो जान थालेको हो । हाङदेवाको हिरेवा, चिनेवा, कटहरे, लिबाङ, खोक्लिङ, नाङखोल्याङ, लिंखिम, फुरुम्बु, सिनाम, आङखोप, फूलबारी, निगुरादिन, तापेथोक, याम्फुदिन र थुम्बेदिन गाविसमा बर्सेनि पहिरो जाने गरेको छ ।फुङलिङ नगरपालिकाभित्रको हाङदेवा पहिरो आसपास ४१ परिवारको बसोबास रहेको जिल्ला रेडक्रसको तथ्यांकमा उल्लेख छ । २००० सालदेखि अहिलेसम्म १४ ठूला पहिरा गएका छन् । गत वर्ष नगरपालिकाभित्रै गएको पहिरोमा तीन जनाको ज्यान गएको थियो । भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको थियो ।

जिल्ला भूसंरक्षण कार्यालयले साबिकका ४८ गाविस र एक नगरपालिकाको अधिकांश क्षेत्रमा सानाठूला दर्जनौं पहिरो गइरहेको जनाएको छ । भूसंरक्षण अधिकृत हरिबहादुर कुँवर, भिरालो जमिन, कमलो माटो र पछिल्लो समय भूकम्पले धर्ती चर्काएकाले पनि धेरै पहिरो गएको बताउँछन् । ‘यहाँको माटो पातलो छ, त्यसमा धेरै वर्षा भएपछि थेग्नै सक्दैन र पहिरो जान्छ,’ उनले भने, ‘एकैपटक ठूलो वर्षा हुँदा चुनौती छ ।’ तर, यसको विस्तृत अध्ययन नभएको कुँवरले बताए ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार दुई वर्षअघि १ सय ४२ मिलिमिटर वर्षा हुँदा लिबाङ, खोक्लिङ, थिङलाबु, लिङतेप र सान्थाक्रालगायत गाविसमा पहिरो गएको थियो । पहिरोले ५९ जनाको ज्यान लिएको थियो । ७२ परिवार विस्थापित भए । अधिकांश परिवार अहिलेसम्म पुन:स्थापित हुन सकेका छैनन् ।

गत वर्ष भदौ १७ गते १ सय ३७ मिलिमिटर वर्षाले ताप्लेजुङ नगरपालिका क्षेत्र चिराचिरा परेको छ । सदरमुकाम क्षेत्रमा समेत ढल निकासको व्यवस्था नहुँदा तल्लो क्षेत्र जोखिममा छ । सुकेटार विमानस्थलदेखिको पानी बगेर आउने हुँदा जोखिम बढेको दोखुका पूर्वगाविस अध्यक्ष खमराज पौडेलले बताए ।

खोरिया प्रथा कायम रहनु र पछिल्ला वर्षमा आफूखुसी बिनाअध्ययन सडक निर्माण गरिनुले पनि पहिरो जानुको कारण बनेको छ । उत्तर–दक्षिण लोकमार्ग आयोजनाका प्रमुख इन्जिनियर कुवेर नेपाली कस्तो ठाउँमा सडक बनाउनेभन्दा पनि आफ्नो अनुकूलताअनुसार कसरी विस्तार गर्न सकिन्छ भनेर समुदाय लाग्ने भएकाले जोखिम बढिरहेको बताउँछन् । त्यसलाई कर्मचारीले मात्रै रोक्न नसक्ने र स्थानीयमा चेतना हुनुपर्ने उनको तर्क छ ।
नियन्त्रण प्रयास भएनसिनामका भूपेन्द्र थेबे अहिले सांसद छन् । २०४६ असोज २ गते आफ्नै गाउँमा पहिरोले २६ जनाको ज्यान लियो ।
होइराँगे र तीनथापेमा गएको पहिरो अहिलेसम्म पनि पूर्ण नियन्त्रणमा आएको छैन । तर, सांसद हुँदा पनि उनले यहाँको पहिरोको जोखिमका विषयमा अध्ययन गराउन नसकेको स्थानीयको गुनासो छ ।

तर, उनी संसद्मा कुरा उठाएको र सम्बन्धित मन्त्रालय तथा विभागमा गएर कुरा गरेको बताउँछन् । उल्टै समस्या सुनाउँदै थेबेले भने, ‘अध्ययन गराउन सकिनँ । बर्सेनि दु:ख व्यक्त गर्नुको विकल्प भएन ।’ जिल्ला विपत् व्यवस्थापन समितिले दुई वर्षअघि ओलाङचुङगोला, लेलेप, इखावु, लिंखिम, फुरुम्बु, हाङदेवा, फुङलिङ, नाङ्खोल्याङ, चाक्सिबोटे, आङ्खोप, लिवाङ, खोक्लिङ, याम्फुदिन, तापेथोक र सावादिन गाविसलाई पहिरोको उच्च जोखिमका गाविसका रूपमा सूचीकृत गरेको थियो ।

देश

आरक्ष स्तरोन्नतिको प्रस्ताव

- कान्तिपुर संवाददाता

पर्सा– पर्सा वन्यजन्तु आरक्षलाई निकुञ्जमा स्तरोन्नति गर्न प्रस्ताव गरिएको छ । आरक्ष प्रशासनले लामो गृहकार्यपछि हालै यस्तो प्रस्ताव गरेको हो । आरक्षको ठूलो क्षेत्र पर्सामै पर्ने हुँदा नाम भने ‘पर्सा राष्ट्रिय निकुञ्ज’ प्रस्ताव गरिएको छ ।

आरक्षका सूचना एवं सहायक संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार आवश्यक सबै कागजात तयार गरी प्रस्तावना विभाग हुँदै मन्त्रालयमा पठाइएको छ । अब यस सम्बन्धमा अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ । ‘प्रस्तावनामा अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्छ,’ उनले भने, ‘सम्भवत: चाँडै मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पुगेपछि निर्णय हुनेछ ।’

आरक्षलाई निकुञ्जमा स्तरोन्नति गर्न यस क्षेत्रका सांसद, होटल व्यवसायी, मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिलगायत सरोकारवालाहरूले लामो समयदेखि लबिइङ गर्दै आएका छन् । ‘सरोकारवाला सबै आ–आफ्नो स्तरबाट लागेका छन्,’ कँडेलले भने, ‘सबैको मनोभावना कदर गर्दै आरक्ष प्रशासनले पनि प्रस्तावना अघि बढाएको हो ।’

पर्यापर्यटन तथा वन्यजन्तु अवलोकनका दृष्टिले महत्त्वपूर्ण तथा सम्भावनायुक्त यो आरक्ष भौगोलिक रूपमा पहाड, हिमालदेखि तराईका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरूसँग नजिक छ । मकवानपुरको दामन पालुङदेखि तराईमा पर्साको रामभौरीभाठा, विन्ध्यवासिनी र गहवामाई मन्दिर, बाराको सिम्रौनगढ, गढीमाई, कामिनीदह मात्र नभई जनकपुरधामको जानकी मन्दिर पनि यहाँबाट नजिक पर्छ । ‘यहाँ आउने पर्यटकले वन र वन्यजन्तुदेखि धार्मिक पर्यटकीयस्थलहरूको अवलोकन भ्रमणको अवसर पनि पाउनेछन्,’ कँडेलले भने, ‘अन्य निकुञ्जभन्दा यो कुनै पनि मामिलामा कम हुने छैन ।’ त्रिभुवन राजपथ र महेन्द्र राजमार्गले आरक्षलाई छोएको हुँदा आवागमनको सुविधा छ । हाल आरक्षकै हात्तीबाट जंगल सफारीको व्यवस्था मिलाइएको छ । आन्तरिक मात्र नभई भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई पनि प्रस्तावित निकुञ्जले आकर्षित गर्नेछ ।
पर्सा, बारा र मकवानपुरको ४९९ वर्गकिमि समेटेर २०४० मा स्थापित आरक्ष गत वर्ष विस्तार गरी ६२७.३९ वर्ग किमि बनाइएको छ । आरक्षमा राजधनेश, सारससहित संरक्षित तथा अन्य गरी ३ सय प्रजातिका चराचुरुंगी छन् । हात्ती, गैंडा, बाघ, गौरीगाई, जंगली कुकुर, हुँडार, सालक आदि संरक्षित गरी ३२ प्रजातिका स्तनधारी वन्यजन्तु, सुनगोहोरो, अजिंगरसहित संरक्षित तथा अन्य गरी १४ प्रजातिका सरिसृप पाइन्छन् ।

देश

कञ्चनपुरमा पाठ्यपुस्तक अपुग

आधा विद्यार्थीले पाएनन्
- कान्तिपुर संवाददाता

कञ्चनपुर– शैक्षिक सत्र सुरु भएको तीन साता बितिसक्दा पनि कञ्चनपुरमा आधाभन्दा बढी पाठ्यपुस्तक अपुग भएका छन् । सबै तहका पाठ्यपुस्तक अभाव भएको हुन् ।कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तकको बढी अभाव छ । पाएका विद्यार्थीले पनि पूरा सेट नपाएको पुस्तक व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष मेघराज बोहराले बताए । ‘अहिलेसम्म २५ प्रतिशत मात्रै पाठ्यपुस्तक विद्यार्थीले पाएका छन्,’ उनले भने, ‘७५ प्रतिशत
पाठ्यपुस्तकको अझै कमी छ ।’ सबैभन्दा बढी ९ र १० को ऐच्छिक विषयको अभाव छ ।

जिल्लामा आधा दर्जनभन्दा बढी व्यवसायीले पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् । तर, कुनैले पनि पूरा सेट दिन नसकेको व्यवसायीले बताए । पाठ्यपुस्तक नभएपछि धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्रको कार्यालयमा ताला लगाइएको छ । ‘हामीले पाठ्यपुस्तक माग्न थालेपछि कार्यालय नै बन्द गरियो,’ बोहराले भने, ‘अब कहिले कार्यालय खुल्छ, कहिले पुस्तक आउँछ, केही ठेगान छैन ।’

व्यवसायीका अनुसार स्थानीय छापाखानाहरूले जिम्मा लिएको कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तकको समेत अभाव छ । उक्त तहमा २५ प्रतिशत पाठ्यपुस्तक अभाव रहेको व्यवसायी बताउँछन् । स्थानीय छापाखानाहरूले समेत समयमा पाठ्यपुस्तक छाप्न नसक्दा अभाव देखिएको छ । अहिले शिक्षक र विद्यार्थीहरू दिनहुँजसो किताब खोज्दै आउने गरेका छन् तर रित्तो हात फर्किन्छन् ।

जिल्ला शिक्षा कार्यालयले भने प्रावि तहको पाठ्यपुस्तक अभाव नभएको दाबी गरेको छ । जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले ६ देखि १० कक्षासम्ममा पनि व्यवसायीहरूले भनेको जस्तो अभाव नरहेको बताए । उनले जिल्लामा ३०/३५ प्रतिशत मात्रै पाठ्यपुस्तक अभाव रहेको जनाए । ‘व्यवसायीहरूले भनेजति अभाव छैन,’ उनले भने, ‘तर सबै विद्यार्थीले किताब पाउन पनि सकेका छैनन्, एक/दुई विषयका मात्र नभई सबै विषयका किताब अभाव छन् ।’

वैशाख २ देखि विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना गराउने उद्देश्यसहित ‘हामी सबैको इच्छा, अनिवार्य र नि:शुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ भर्ना अभियान मनाइएको छ । तर, भर्ना भएकाहरूले समेत पाठ्यपुस्तक पुर्‍याउन नसकेको अवस्थामा अभियान औपचारिकता मात्रै भइरहेको शिक्षकहरू बताउँछन् । जहिले पनि विद्यार्थीले समयमा किताब नपाएर पढाइ नहुने अवस्थाको अन्त्य गर्नसके मात्रै भर्ना अभियानले समेत सार्थकता पाइने उनीहरू बताउँछन् ।

शिक्षा कार्यालयका अनुसार कक्षा १ देखि १० सम्म ८० हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । तीमध्ये ६ देखि १० सम्म मात्रै ४० हजारभन्दा बढी रहेका छन् । १ देखि ५ सम्म ४० हजार र ५ देखि १० सम्म पनि त्यत्तिकै थान पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म करिब ६०/६५ प्रतिशत मात्रै उपलब्ध भएको सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले बताए ।

Page 13
देश

‘जीपीएस ट्रयाकिङ’ चर्चामै सीमित

वैज्ञानिक प्रणाली अवलम्बन नगर्दा यसपालि पनि अनुमानकै भरमा सगरमाथा चढेको प्रमाणपत्र दिइने
- कुम्भराज राई
कञ्चनजंघा हिमाल आरोहणका लागि बेसक्याम्प पुगेका महिला ।  तस्विर : कान्तिपुर

ओखलढुंगा– गत वर्ष भारतीय दम्पती दिनेश र तर्केश्वरी राठोडको सगरमाथा आरोहण विवादित भयो । शिखरमै नपुगी उनीहरूले प्रविधिको माध्यमबाट फोटो जोडेर आरोहण गरेको तस्बिर पर्यटन विभागमा पेस गरेका थिए । नक्कली तस्बिर पेस गरेको आरोप मात्र नभएर प्रमाणित भई विभागले प्रमाणपत्रसमेत रद्द गर्‍यो ।

त्यसअघि नै किरात समुदायमा ‘गड एन्जल’ को उपनाम लिँदै आफूलाई ‘प्रेमवाद’ धर्मका प्रवर्तक मान्ने भक्तकुमार राईले फोटोसपको माध्यमबाट आफ्ना अनुयायीलाई सगरमाथा आरोहण गरेको भ्रम फैलाएका थिए । सार्वजनिक रूपमै यस्तो प्रचार गरेका उनलाई कसैले अनुसन्धानको दायरामा ल्याएन ।

यी उदाहरण मात्र हुन् । बर्सेनि सगरमाथा आरोहणको विषयमा विभिन्न किसिमका विवाद हुने गर्छन् । अनुमतिपत्र लिने आरोही, माउन्टेनरिङ गाइड, सहयोगी शेर्पा कतिले सगरमाथा चढ्छन् भन्ने यकिन भन्नै गाह्रो हुने गरेको छ । यस वर्ष आरोहण सिजन सुरु हुनुअगावै जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) ट्रयाकिङमार्फत आरोहीको अनुगमन गरिने चर्चा चलेको थियो । तर, आरोहण सुरु हुनै लाग्दासमेत जीपीएस प्रणाली लागू भएको छैन । जीपीएस ट्रयाकिङ चर्चामै सीमित भएको छ । ‘जीपीएस लागू गर्ने कि भन्ने विषयमा छलफलसम्म भएको हो,’ पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले भने, ‘तर लागू गर्ने भनेर आधिकारिक निर्णय भएको छैन ।’ उनले उक्त प्रविधि अपनाउँदा हुने फाइदा र यसका लागि आवश्यक तयारीबारे छलफल बाँकी रहेको बताए ।

नेपाल पर्वतारोहण संघका महासचिव ठाकुरराज पाण्डेले जीपीएस प्रयोगको विषयमा छलफल भइरहेको बताए । उनले नेपालको ट्रेकिङ तथा हिमाल आरोहण परम्परागत तवरले चढ्ने चलन भएको बताए । तर पछिल्लो समयमा आरोहणको विषयलाई लिएर विभिन्न किसिमका विश्वास गर्नै नसकिने कीर्तिमानहरू आएको कारणले जीपीएसको आवश्यकता रहेको उनको भनाई छ । तर यो प्रणाली सुरु गर्दा हाल भइरहेका रोजगारी र व्यवसायमा पनि असर नपर्ने गरी लागू गर्न सकिने पाण्डेले बताए । ‘अनुमति लिएर जो कोही आरोही जीपीएस बोकेर सरासर हिमाल जाने प्रवृत्ति पनि नहोस्,’ महासचिव पाण्डेले भने, ‘यो विषयमा थप छलफल गरी छिट्टै जानकारी गराउनेछौं ।’

सम्पर्क अधिकृत नै समस्या
जीपीएस कार्यान्वयनको प्रमुख चुनौती पर्यटन विभागले तोकेका सम्पर्क अधिकृत हुन् । प्रत्येक आरोहण टोली (एक्सपिडिसन ग्रुप) का लागि एक जना सम्पर्क अधिकृत विभागले तोकेका हुन्छन् । उनीहरूले आधारशिविरमा बसेर आफ्नो समूहका आरोहीको अनुगमन गरी आरोहण गरे/नगरेको टुंगो लगाउनुपर्ने हुन्छ । जीपीएस प्रणाली लागू गर्दासमेत सम्पर्क अधिकृतले आफ्नो समूहका आरोही को–कहाँदेखि कहाँ पुगे ? कति समयमा शिखर चुमे भनेर निगरानी गर्नुपर्ने हुन्छ । तर, सम्पर्क अधिकृत आफैं धेरैजसो आधार शिविर पुग्न सक्दैनन् । औंलामा गन्न सकिनेबाहेकका सरकारी सम्पर्क अधिकृत आधार शिविर नपुगी फर्किन्छन् । जेनतेन पुगेकासमेत एकै दिन नबसी फर्किन्छन् ।

‘बेसक्याम्प आइपुग्न भ्याएका हुँदैनन् । बिरामी भयौं भन्न थाल्छन्,’ नेपाल पर्वतारोहण संघका केन्द्रीय सदस्य निमा नाम्गेल शेर्पाले भने, ‘जबर्जस्ती राख्न पनि मिलेन । अनि उनीहरू राजधानीमै बसेर कसरी आरोहीको निरीक्षण गर्छन् ?’ उनले सरकारले प्रत्येक आरोहण समूहका लागि सम्पर्क अधिकृत खटाइरहन जरुरी नभएको बताए ।

सगरमाथामा हालसम्म विभिन्न कीर्तिमान राखेको भनिएका धेरै आरोहीमध्ये थोरैको मात्र ‘जीपीएस ट्रयाकिङ’ प्रयोग गरी प्रमाणित गरिएको छ । अन्यथा सरकारी सम्पर्क अधिकृतले अनुमानका भरमा प्रमाणपत्र दिने गरेका छन् । सम्पर्क अधिकृतलाई पर्यटन विभागले आवश्यक तालिम दिएको हुन्छ । तर, अधिकांश हाई अल्टिच्युड (लेक) पचाउन नसकेको भन्दै फर्किने गर्छन् ।

चौथो क्याम्प बनाउँदै कञ्चनजंघा आरोही
ताप्लेजुङ– कञ्चनजंघा हिमाल आरोहणका लागि गएको टोलीले तेस्रो क्याम्प खडा गरेको छ । अनलाइन सम्पर्कमा आरोहणका लागि गएकी माया शेर्पाले चौथो क्याम्प बनाउने काम भइरहेको तर टुंगिनसकेको बताइन् । बेसक्याम्प पुगेको टोलीलाई केही समय मौसमले प्रभाव पारेको थियो । चौथो क्याम्प केही लामो र अप्ठयारो मानिन्छ । यो क्याम्पमा यसअघि दुईवटा दुर्घटना भइसकेका छन् । दुर्घटनामा स्वदेशी र विदेशी गरी ८ जनाको ज्यान गएको छ ।

यसमुनिको क्याम्पमा डोरी टाँग्नेलगायत काम भइसकेको मायाले बताइन् । ‘अबको १५/२० दिनमा आरोहण गर्ने अपेक्षा गरेका छौं,’ उनले भनिन्, ‘मौसमले साथ दिए त्योभन्दा अघि पनि हुन सक्छ ।’ सामान्यत: अहिलेसम्म जेठ पहिलो साता धेरै आरोहण भएका छन् । लगातार भएको दुर्घटनापछि विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो (८,५८४ मिटर) अग्लो यो हिमालमा २ वर्षदेखि आरोहण हुन सकेको छैन । यो वर्ष भने ३ नेपाली महिला र ११ विदेशी एउटै टोलीमा छन् । उनीहरूले एकैसाथ हिमाल आरोहणको तयारी गरेका छन् । महिला टोलीको नेतृत्व मायाले गरेकी छन् । पर्वतारोहीका अनुसार मौसमअनुकूल नभएसम्म हिमालमा जाँदा पहिरो झर्ने खतरा हुने भएकाले सजग हुनुपर्छ । सरकारले नगर्ने भएकाले यहाँ जाने आरोही आफैंले डोरी टाँग्ने, क्याम्प बनाउने काम गर्नुपर्छ । सबै काम नेपाली शेर्पाहरूले गर्छन् । ३ महिला ‘थ्री वुमेन, थ्री टप’ नारा लिएर आरोहणका लागि गएका छन् ।

देश

फेरियो विद्यालय

- कान्तिपुर संवाददाता

पोखरा– पाँच कक्षासम्म एउटै विद्यार्थी भर्ना भएनन् । जिल्ला शिक्षा कार्यालयले विद्यालयमा कार्यरत दुई शिक्षकलाई अन्यत्र सरुवा गरेर नजिकैको विष्णुपादुका माविमा मर्ज (समायोजन) गर्‍यो । त्यही विद्यालय अहिले नमुनामा दरिएको छ ।

पोखरा–लेखनाथ २५ याम्दीको बालकल्याण आधारभूत विद्यालय नमुना बनेको हो । विद्यार्थी अभावमा बन्द विद्यालय फेरि सञ्चालनमा आएको छ । विद्यार्थी भर्ना पनि उल्लेख्य मात्रामा बढेको छ । यस वर्ष ८३ विद्यार्थी भर्ना भए । घरनजिकैको स्कुल बन्द भएपछि मर्माहत अभिभावक जुर्मुराएसँगै रूप फेरिएको हो । ८ कक्षासम्मको अनुमति भए पनि अहिले बालविकास केन्द्रदेखि तीन कक्षासम्म पढाइ हुन्छ । ‘शिक्षक–अभिभावकको चाहना भएपछि विद्यालय परिवर्तन हुन समय नलाग्दो रहेछ,’ शिक्षक श्रीराम त्रिपाठीले भने, ‘विद्यार्थी संख्या बढेसँगै हामीमा उत्साह थपिएको छ । पढाउने जाँगर पनि चलेको छ ।’

शिक्षा कार्यालयले औपचारिक रूपमा शैक्षिक सत्र २०७१ देखि नै स्कुल बन्द गरेको हो । त्यसपछि २०७२ सालमा पनि बन्द रह्यो । २०७३ मा आएर विद्यालयलाई ब्युँताइयो । शिक्षा कार्यालयले पनि २ शिक्षक दरबन्दी दियो । सबैको साथ र सहयोग मिलेपछि स्कुलको स्वरूप फेरिएको प्रधानाध्यापक रोहिन्द्रप्रसाद पौडेलले बताए । ‘अंग्रेजी माध्यम शिक्षक–अभिभावकको मेहनतको परिणाम हो,’ उनले भने, ‘पर्याप्त शैक्षिक सामग्री, भौतिक पूर्वाधारले पनि विद्यार्थी आकर्षित गर्न सफल भएका छौं ।’

पहिलो वर्ष नै २ कक्षासम्म ६८ विद्यार्थी भर्ना भएका थिए । अहिले १५ थपिएका छन् । अझै केही विद्यार्थी आउने अपेक्षा विद्यालयको छ । बालविकास केन्द्रमा २३, यूकेजीमा १९, एक र दुई कक्षामा १६/१६ र तीन कक्षामा ९ विद्यार्थी छन् । बालविकास केन्द्रलाई असल छिमेकी सहयोग संघ (गोनेसा) ले सहयोग गरेको छ । सबै विद्यार्थीलाई स्कुलमै दिवा खाजा खुवाइन्छ । खाजाका लागि बालविकास केन्द्रबाहेक अरू कक्षाका विद्यार्थीबाट जनही १० रुपैयाँ दैनिक संकलन गरिन्छ । दुई/दुई कोठे दुईवटा भवन बनेका छन् । खेल मैदान पनि प्रशस्त छ । कक्षाकोठा व्यवस्थित छन् ।

दुई शिक्षक दरबन्दीका छन् । एक शिक्षक र कार्यालय सहयोगी विद्यालयले निजी स्रोतमा राखेको छ । कार्यालय सहयोगीले पनि पढाउँछिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फिरोज साईले बन्द स्कुल पुन: सञ्चालन गरी यति धेरै विद्यार्थी भर्ना गर्न सकिएकोमा खुसी व्यक्त गरे । ‘सरकारी निकाय र स्थानीयको सहयोगले यस्तो अवस्थामा आएका हौं,’ उनले भने, ‘विद्यालयलाई नमुना बनाउने योजना छ । सबै पक्षबाट सहयोग निरन्तर आवश्यक छ ।’ समुदायकै पहलमा स्कुल ब्युँतिएको उनले बताए ।

विद्यालय सात रोपनी क्षेत्रफलमा फैलिएको छ तर सेती नदीमा अव्यवस्थित रूपमा गिटी, ढुंगा र बालुवा निकाल्दा बर्सेनि स्कुलको जग्गा कटानमा परेको छ । यसलाई रोक्न जिल्ला समन्वय समिति तथा अन्य निकायले सहयोग गर्नुपर्ने विद्यालयले जनाएको छ । जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले विद्यार्थी अभावमा बन्द स्कुल पुन: सञ्चालन हुनु सुखद भएको बताए । ‘कास्कीमा विद्यालय मर्जको अवस्थामा पुगेका बेला उक्त स्कुलले पुनर्जीवन पाएको छ,’ उनले भने, ‘अभिभावक र शिक्षकले अपनत्व लिएमा नहुने केही छैन ।’ कास्कीमा गत वर्षसम्म ५ वर्षको अवधिमा ४२ विद्यालय बन्द भएका थिए । त्यसमध्ये बालकल्याण ब्युँतिएको हो ।

देश

जेठमा खुल्दै बुकी पाटन

- कान्तिपुर संवाददाता

रुकुम– यस वर्षको यार्सा सिजन जेठको पहिलो साताबाट सुरु हुने भएको छ । यार्सा सिजन व्यवस्थापन समितिले जेठ १० गतेभित्रै यार्सा पाइने बुकी खुला गर्ने तयारी गरेको हो । गाउँबाट २ दिन पैदल हिँडेर दुलेस्थित पहिलो क्याम्पमा पुगेको समितिको बैठकले जेठ १० गते अगावै यार्सा टिप्न सुरु गर्ने निर्णय गरेको जनाएको छ ।

समिति अध्यक्ष छायाबहादुर पुनले मौसम र स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जेठ पहिलो सातामै यार्सा टिप्न थालिहाल्ने गरी निर्णय भएको बताए । ‘मौसम अनुकूल पनि बन्दै छ । स्थानीय तहको निर्वाचनलाई पनि लक्षित गरेर जेठ पहिलो हप्ताबाटै किरा टिप्ने निर्णय भएको छ,’ उनले भने । ५ नम्बर प्रदेशमा परेको पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकामा दोस्रो चरण अर्थात् जेठ ३१ गते निर्वाचन हुँदै छ । पुथाउत्तरगंगा गाउँपालिका तथा साबिकको रन्मामैकोट गाविसको पुपाल, अरविजा, जंगला, पूर्वाङ लगायतका ठाउँमा यार्सा पाइन्छ । यार्साको चोरी पैठारी रोक्न बुकी तथा पाटनहरूमा सुरक्षा टोली खटाइसकिएको छ ।

वैशाख दोस्रो सातादेखि यार्सा सुरक्षाका लागि भन्दै २ सय युवा बुकी पाटनमा बसिरहेका छन् । उम्रिसकेको यार्सा कतैबाट चोरी नहोस् भन्ने उद्देश्यले युवाहरूलाई त्यस क्षेत्रमा पठाइएको अध्यक्ष पुनले बताए । सर्वसाधारण यार्सा टिप्नका लागि पाटनमा नपुगेसम्मको सम्पूर्ण सुरक्षाको जिम्मा युवाको काँधमा हुन्छ ।त्यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मुख्य स्रोत यार्सा नै हो । एउटा सिजनबाट उनीहरूले वर्षभरको खर्च व्यवस्थापन गर्नुका साथै अन्य खर्चको पनि जोहो गर्छन् । त्यसैले यो सिजन ठूलै पर्वसरह हो । महिनादिन बुकीमै बिताउने उनीहरूले प्रतिपरिवार यार्सा खोजेर मात्रै ५० हजारदेखि ५ लाखसम्म आम्दानी गर्ने गर्छन् ।

पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका अधिकांश ठाउँका सर्वसाधारण यार्सा टिप्न जान्छन् । पुथाउत्तरगंगा र सिस्नेको भूभागसहित डोल्पासम्म उनीहरू पुग्ने गरेका छन् । विद्यालयसमेत बन्द गरेर शिक्षक र विद्यार्थी पनि यार्सा टिप्न बुकी जाने गरेका छन् । यस वर्षको सिजनमा यार्सा खोज्ने एक व्यक्तिले एक हजार ५ सयका दरले कर तिर्नुपर्ने नियम बनाइएको छ । यार्सा सिजन व्यवस्थापन समितिले लिने उक्त रकम समितिले आÏनो व्यवस्थापन र गाउँका विकास निर्माणमा लगाउने गरेको छ ।

जिल्ला वन कार्यालयबाट यार्सा संकलनको पुर्जी काटेर यार्सा संकलकहरू बुकी पुग्छन् । सर्वसाधारणले आफूले भेटाएको यार्सा बुकीमै बिक्री गर्दछन् । यस वर्ष अहिलेसम्म कसैले पनि जिल्ला वन कार्यालयबाट यार्सा संकलनको लागि पुर्जी लिएको छैन । जिल्ला वन अधिकृत जगन्नाथप्रसाद जयसवालले यार्सा संकलनको दिन नजिक आउँदा पनि पुर्जी लिन कोही नआएको बताए । १ किलो यार्सा खरिद गर्ने व्यापारीले जिल्ला वन कार्यालयमा २५ हजार रुपैयाँ राजस्व तिर्नुपर्छ । सिजन व्यवस्थापन समितिलाई पनि छुट्टै रकम तिर्नुपर्छ । समितिले यस वर्ष ठेकेदारको शुल्क तोकिसकेको छैन । सबै यार्सा संकलन गर्ने ठेकेदार बुकीमै पुगेपछि मात्रै यसबारेको निर्णय हुने समितिले बताएको छ ।

देश

चिन्नाको भरमा स्कुल

- कान्तिपुर संवाददाता

सल्यान– कालिमाटी गाउँपालिका–७ काप्रेचौर बाटुलेका बालबालिका भेरी नदीमा पुल नहुँदा चिन्नाको सहायताले विद्यालय जान बाध्य छन् । नदीपारिको घुइँयाबारीस्थित विद्यालय जान उनीहरू कम्मरमा चिन्ना बाँधेर दैनिक नदी वारपार गर्छन् ।

नदीमा पुल नहुँदा बाटुलेका ४५ परिवारका झन्डै सय बालबालिका प्रभावित छन् । वर्षातको समयमा नदीमा पानी बढ्ने हुँदा एक महिना त विद्यालय जानै नपाउने स्थानीय अभिभावक झुपलाल रानाले बताए । ‘घरबाट विद्यालय हिँडेका बालबालिका नदी तर्न नसक्दा बीचैबाट घर फर्कन्छन्,’ उनले भने ।

बस्तीभन्दा डेढ किलोमिटर तल पुल बनाएकाले घुमेर जान धेरै समय लाग्छ । नजिकै विद्यालय नभएपछि बालबालिका नदीपारिको राष्ट्रिय माध्यमिक विद्यालयमा जानुपर्ने बाध्यता भएको उनले बताए । झोलुंगेपुल निर्माणमा पनि कसैले चासो नदेखाएको स्थानीयको गुनासो छ ।
६ महिनासम्म नदीमा पानीको बहाव धेरै हुने हुँदा बालबालिकाले कष्ट भोग्दै आएको स्थानीय जीवराज नेपालीले बताए । विभिन्न निकायले सर्भे गरे पनि खर्च बढी लाग्ने भन्दै पुल नबनाएको स्थानीयको गुनासो छ । ‘गाउँबाट विद्यालयको दूरी २०/२५ मिनेट मात्र टाढा हो । पुल भएको ठाउँबाट घुमेर जाँदा दुई घण्टा लाग्छ,’ रानाले भने । नदी तर्न नसक्दा परीक्षा पनि दिन नपाएको बालबालिकाको गुनासो छ । राष्ट्रिय माविका प्रधानाध्यापक गोकर्ण रानामगरले पुल नभएकै कारण धेरै बालबालिकाहरू विद्यालयबाट वञ्चित भएको बताए ।  

देश

२ को मृत्यु, ४ घाइते

- कान्तिपुर संवाददाता

गुल्मी– छुट्टाछुट्टै घटनामा बिहीबार गुल्मीमा दुई जनाको मृत्यु भएको छ । चार घाइते र एकजना बेपत्ता छन् । तम्घासबाट इस्मा जाँदै गरेको लु१च ६६८४ नम्बरको जिप इस्मा गाउँपालिका–४ मौलीपोखरामा दुर्घटना हुँदा ४० वर्षीया कल्पना गन्धर्वको घटनास्थलमै मृत्यु भएको छ भने ५५ वर्षीय उनका श्रीमान् बाबुराम घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी २२ वर्षीया हुमकला विक, बुटवलकी ६० वर्षीया रुकी सुनार र सरस्वती अर्याल पनि घाइते भएका छन् । अर्यालबाहेक अन्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । यस्तै बढीगाड खोलामा माछा मार्ने क्रममा जालमा अड्किएर चन्द्रकोट–८ तुराङका २५ वर्षीय युवराज रजालीको मृत्यु भएको हो । बढीगाडमै पौडी खेल्दा डुबेर गुल्मी दरबार गाउँपालिका–१ बलिथुमका १३ वर्षीय राजेन्द्र परियार भने बेपत्ता भएका छन् ।

Page 14
विदेश

पर्खाल भत्किँदा २६ को मृत्यु

- सिन्हवा
भारतको राजस्थानमा आयोजित एक वैवाहिक कार्यक्रममा पर्खाल भत्किँदा भएको जनधनको क्षतिको बिहीबार आकलन गर्दै प्रहरी ।  तस्बिर : रोयटर्स

नयाँदिल्ली– भारतको पश्चिमी राज्य राजस्थानमा एक वैवाहिक कार्यक्रमको बेला पर्खाल भत्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।  राजस्थानको राजधानी जयपुरदेखि १ सय ८६ किमि पूर्वस्थित भरतपुर जिल्लामा बुधबार अवेर राति पर्खाल भत्किएको प्रहरी अधिकारीले बिहीबार जनाएका छन् । स्थानीयका अनुसार बेस्सरी चलेको आँधीहुरीले उक्त पर्खाल भत्किएको थियो।

‘बुधबार राति अबेर वैवाहिक कार्यक्रम भइरहेको हलमा पर्खाल भत्किँदा त्यसले च्यापेर कम्तीमा २६ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्,’ एक वरिष्ठ प्रहरी अधिकृतले भने, ‘घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ, शव भने उनीहरूका आफन्तलाई बुझाइएको छ ।’

वैवाहिक समारोहमा सहभागीले खाना खाइरहेका बेला २८ मिटर लामो र चार मिटर अग्लो पर्खाल भत्किएको प्रत्यक्षदर्शीले बताएका छन् । विवाहमा आएकाहरूलाई राखिएको खाना भत्किएको पर्खालले पुरिएको प्रहरीले जनाएको छ ।  राजस्थानकी मुख्यमन्त्री वसुन्धरा राजेले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै घाइतेहरूलाई उपचारमा सक्दो सहयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।  स्थानीय सरकारले समेत उनीहरूका लागि सहयोग गर्ने घोषणा गरेको छ ।    

विदेश

चीनमा भूकम्प

- सिन्हवा

सिन्जिआङ, चीन– चीनको उत्तर– दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको ५.५ रेक्टर स्केलको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै २३ घाइते भएका छन् । स्थानीय समयानुसार बिहीबार बिहान ५.५८ बजे भूकम्प गएको अधिकारीले जनाएका छन् । भूकम्पबाट १२ हजार व्यक्ति प्रभावित भएका छन्, जसमध्ये झन्डै ९ हजार २ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

भूकम्पमा परी घाइते भएका सबैलाई उपचारका लागि अस्पतालमा लगिएको छ । भूकम्प प्रभावित क्षेत्रमा करिब एक हजार सैनिक र प्रहरी तथा १५ सय स्वयंसेवक उद्धारका लागि क्रियाशील छन् । भूकम्प पीडितका लागि सहयोग सामग्री घटनास्थलमा पुर्‍याइएको आपत्कालीन उद्धार केन्द्रीय कार्यालयले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रका घरको पर्खाल चर्किएको देखिएको छ भने भूकम्पको केन्द्रबिन्दु भएको ठाउँमा क्षत्विक्षत् घरहरू हटाइएको छ ।

Page 15
अर्थ वाणिज्य

मोफसलमा ऋण र निक्षेप दुवै बढ्यो

राजधानी बाहिर आर्थिक गतिविधि बढ्न थाल्यो
- यज्ञ बञ्जाडे

काठमाडौं– राजधानी बाहिर आर्थिक गतिविधि बढ्न थालेको बैंकहरूको कर्जा लगानीको अवस्थाले देखाएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जा तथा सापटीमा मोफसलको हिस्सा ५१ दशमलव ७ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो हिस्सा ४९ दशमलव ४ प्रतिशत थियो । पछिल्ला केही वर्षयता मोफसलमा ऋणको हिस्सा बढ्दै गएको छ भने काठमाडौं उपत्यकाको घट्दो छ । यसबाट मोफसलमा आर्थिक गतिविधि विस्तार हुँदै गएको पुष्टि हुन्छ ।

विगतमा मोफसलमा आर्थिक गतिविधिहरू फस्टाउन नसकेको समयमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा तथा सापटीमा काठमाडौं उपत्यकाको हिस्सा बढी हुन्थ्यो । त्यतिबेला मोफसलले निक्षेप गर्ने र अधिकांश निक्षेप काठमाडौं उपत्यकाले खपत गर्ने अवस्था थियो । करिब आधा दशकयता परिस्थिति बदलिएको छ ।

मोफसलमा आर्थिक क्रियाकलाप तीव्र रूपमा बढेको छ । यसकारण मोफसलमा ऋण उपयोग र बचतमा पनि वृद्धि भएको छ । बढ्दो सहरीकरण र रेमिट्यान्स आप्रवाहले मोफसलमा आर्थिक गतिविधि बढेपछि ऋणको माग पनि बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए । उनले भने, ‘पछिल्ला वर्षहरूमा मोफसलमा वित्तीय साधन स्रोतको उपयोग बढ्दै गएको छ, यो निकै सकारात्मक संकेत हो ।’ काठमाडौं उपत्यकामा एक स्तरको (आधारभूत) विकास भइसकेकाले थप विस्तारको सम्भावना कम भएकाले पनि मोफसलमा वित्तीय साधन स्रोतको उपयोग बढेको हुन सक्ने उनको भनाइ छ ।

सहरीकरणले वस्तु तथा सेवाको उपलब्धता बढाएको र रेमिट्यान्सले उपभोक्ताको खरिद क्षमता वृद्धि गरेपछि त्यहाँ आर्थिक गतिविधि विस्तारमा टेवा पुगेको थापाले बताए । ‘उपत्यका बाहिर ठूला सहरहरू निर्माण भइरहेका छन्, रेमिट्यान्सले गर्दा नयाँ बस्ती बसेको छन्, औद्योगिक तथा व्यापारिक केन्द्रहरू निर्माण भएका छन्,’ उनले भने, ‘यो राम्रो संकेत हो ।’ मुलुकको कुल क्षेत्रफलका हिसाबले निकै सानो रहेको काठमाडौं उपत्यकामा झन्डै आधा वित्तीय साधन स्रोत उपयोग गरिरहेकाले यसलाई अझै विकेन्द्रित गर्नुपर्ने उनले बताए । यसका लागि सरकारले मोफसलका ग्रामीण भेगमा पुँजीगत खर्च विस्तार गरी पूर्वाधार निर्माण गर्नुपर्छ । ‘त्यसो भएमा लगानीको वातावरण सिर्जना हुन्छ, जसले निजी क्षेत्रलाई लगानी विस्तार गर्न प्रोत्साहन मिल्छ,’ उनले भने । हाल ठूलो मात्रामा वित्तीय साधन स्रोत काठमाडौं उपत्यका केन्द्रित हुदाँ विभिन्न समस्या देखिएको जनाउँदै उनले भने, ‘मोफसलको आर्थिक गतिविधि बढ्यो भने ती समस्या बजार प्रक्रियाअन्तर्गत नै समाधान हुन्छन् ।’

राष्ट्र बैंकको तथ्यांकअनुसार हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा मोफसलको हिस्सा साढे ३८ प्रतिशत र काठमाडौं उपत्यकाको हिस्सा साढे ६१ प्रतिशत छ । यसले पछिल्ला वर्षहरूमा मोफसलमा वित्तीय संस्थामा बचत गर्ने बानीको विकास भएको देखाउँछ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाले विभिन्न माध्यमबाट वित्तीय सेवा विस्तार गरेकाले बचत गर्ने प्रवृत्ति बढेको राष्ट्र बैंकले जनाएको छ ।

उपत्यका बाहिरका क्षेत्रहरूमध्ये पनि वीरगन्ज क्षेत्रले सबैभन्दा बढी ११ दशमलव ६ प्रतिशत कर्जा उपयोग गर्दै आएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यस्तै कुल कर्जामा सबैभन्दा कम २ दशमलव ७ प्रतिशत हिस्सा धनगढी क्षेत्रको छ । सुदूरपश्चिममा आर्थिक गतिविधि न्यून भएकाले कर्जाको माग पनि नरहेको केन्द्रीय बैंकको ठहर छ । वीरगन्ज क्षेत्रमा आर्थिक गतिविधि बढी हुने गरेकाले यो क्षेत्रमा कर्जा परिचालनको अंश उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ ।

गत फागुनसम्म १ सय ७१ बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । जसमध्ये २८ वाणिज्य बैंक, ५७ विकास बैंक, ३८ वित्तीय संस्था र ४८ लघु वित्तीय संस्था सञ्चालनमा छन् । ती वित्तीय संस्थाले मुलुकभर ४ हजार ७ सय ५९ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गरिरहेका छन् । तीमध्ये काठमाडौं उपत्यकामा सबैभन्दा बढी र धनगढी क्षेत्रमा सबैभन्दा कम वित्तीय संस्था रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

अर्थ वाणिज्य

न्यून आधारमा उच्च वृद्धि : विश्व बैंक

- कान्तिपुर संवाददाता

काठमाडौं – गत आर्थिक वर्षमा निकै कम आर्थिक वृद्धि भएका कारण यस वर्ष उच्च दरले कुल गार्हस्थ उत्पादन (जीडीपी) बढेको विश्व बैंकको एक अध्ययनले देखाएको छ । न्यून आधारमा उच्च वृद्धि भएको बैंकको ठहर छ।
‘गत वर्ष ० दशमलव ४ को सट्टा ४ प्रतिशत वृद्धि भएको भए यस वर्षको जीडीपी वृद्धिदर ३ दशमलव ८ प्रतिशत मात्रै हुने थियो,’ बैंकले बिहीबार जारी गरेको नेपाल डभलपमेन्ट आउटलुकमा उल्लेख छ ।

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा ६ दशमलव ९ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । यसैअनुसार वृद्धि भए यो २०५१ यताकै उच्च हुनेछ । २०५१ मा ७ दशमलव ६ प्रतिशत वृद्धि भएको थियो ।

उच्च वृद्धि हुनुमा गत वर्षको न्यून विस्तार, लोडसेडिङमा आएको कमी र पुनर्निर्माणका काम बढेकाले वृद्धि भएको विश्व बैंकको पनि भनाइ छ । धान उत्पादन वृद्धिलाई पनि विश्व बैंकले प्रमुखता दिएको छ । यस वर्ष ५२ लाख टन धान उत्पादन भयो । जुन गत वर्षभन्दा २१ प्रतिशत बढी हो । नयाँ सरकारले विद्युत् उत्पादन र वितरणका साथै स्वास्थ्य क्षेत्रमा गरेको कामलाई पनि विश्व बैंकले सराहना गरेको छ । तर, पनि न्यून आधारमा ठूलो वृद्धि देखिएकाले यसले आर्थिक गतिविधि उच्च दरले नबढाएको विज्ञहरूको भनाइ छ । विश्व बैंकको पछिल्लो प्रक्षेपण सरकारी भनाइको झन्डै आधा हो । गत वर्ष मुख्यतया भारतीय नाकाबन्दीका कारण ० दशमलव ४ प्रतिशत मात्रै वृद्धि भएको संशोधित अनुमान विभागले हालै सार्वजनिक गरेको थियो ।

विश्व बैंकका अनुसार यस वर्ष उच्च वृद्धि देखिएकाले मापनको आधार पनि बढेको छ । ‘अर्को वर्ष यसैगरी उच्च दरमा वृद्धि हासिल गर्न कठिन हुने देखिन्छ,’ विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । घट्दो दरमा बढिरहेको रेमिट्यान्सले पनि आगामी वर्षको चुनौतीका रूपमा बैंकले औंल्याएको छ । तर, पनि आगामी वर्ष हुने निर्वाचन र पुनर्निर्माणका लागि हुने खर्चले भने वृद्धि बढाउन सक्ने आकलन विश्व बैंकको छ । बजार भाउ भने नियन्त्रित रहेको बैंकले जनाएको छ । राष्ट्र बैंकको आकलनअनुसार नै ७ दशमलव ५ प्रतिशतभित्र मुद्रास्फीतिदर रहने विश्व बैंकको पनि भनाइ छ ।

अर्थ वाणिज्य

साउनदेखि आस्वा अनिवार्य

- कान्तिपुर संवाददाता

काठमाडौं– नयाँ आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारमा आस्वा प्रणाली अनिवार्य हुने भएको छ । आस्वा सेयर खरिद गर्न चाहने लगानीकर्ताको बैंक खातामा खरिद गर्न चाहेको रकम रोक्का गरिने नयाँ प्रणाली हो ।

धितोपत्र बोर्डले गत मागदेखि ऐच्छिक रूपमा आस्वा प्रणाली लागू गर्दै आएको छ । बोर्डले ०७४ साउनदेखि त्यही प्रणालीलाई बाध्यात्मक बनाउन लागेको हो । बिहीबार विज्ञप्ति जारी गरी बोर्डले उक्त निर्देशन दिएको छ ।
‘यस प्रणालीलाई अनिवार्य गर्न लगानीकर्ता, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थासहित अन्य सरोकारवालाहरूबाट समेत माग भएको परिप्रेक्ष्यमा ०७४ साउन १ देखि लागू हुने गरी धितोपत्रको सार्वजनिक निष्कासनमा आस्वा प्रणाली अनिवार्य गर्ने निर्णय गरिएको छ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यो प्रणालीमा हालसम्म २८ वटा वाणिज्य बैंकसहित ५२ वटा बैंक तथा वित्तीय संस्था सहभागी भएका छन् । ती संस्थाहरूले ७५ वटै जिल्लाबाट प्राथमिक निष्कासनमा आवेदन दिन सक्ने सुविधा प्रदान गरेका छन् । यस प्रणालीमार्फत हालसम्म ७ संस्थाबाट सार्वजनिक निष्कासन भइसकेको बोर्डले जनाएको छ । आस्वा प्रणाली अनिवार्य भएपछि सेयर बजार सहज, पारदर्शी र अनुशासित हुने बोर्डको दाबी छ ।

अर्थ वाणिज्य

सबै समूहको परिसूचक हरियो

कारोबार रकम झन्डै ५० प्रतिशतले बढ्यो
- कान्तिपुर संवाददाता

काठमाडौं– सातामा कारोबारको अन्तिम दिन (बिहीबार) सेयर बजारमा परिसूचक र कारोबार रकम दुवै बढे । अघिल्लो दिनको तुलनामा बिहीबार
नेप्से करिब ८ अंकले र कारोबार रकम झन्डै ५० प्रतिशतले बढ्यो । पहिलो कारोबारदेखि नै उतारचढावमा रहेको बजार अन्त्यमा ७.७७ अंकको वृद्धिसहित १ हजार ६ सय ५८.५८ विन्दुमा पुगेको छ । धेरै दिनपछि बिहीबार ९ वटै समूहअन्तर्गतका कम्पनीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । उक्त दिन कारोबार भएका सबै जलविद्युत् कम्पनीहरूको सेयर मूल्य बढेपछि जलविद्युत् समूहको परिसूचक ०.९२ प्रतिशतले बढ्यो । यसैगरी बैंकिङ समूहको परिसूचक ०.२६, ‘अन्य’ को २.७३, व्यापारको ०.६७ र वित्त कम्पनीको ०.६४ प्रतिशत बढे । उक्त दिन बिमा समूहको परिसूचक ०.५१, उत्पादन तथा प्रशोधनको ०.३७, होटलको ०.२९ र विकास बैंकको ०.१ प्रतिशतले सकारात्मक रहे ।

बिहीबार ९१ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरिमा ७ हजार ३ सय १७ कारोबारबाट १ सय ४७ कम्पनीका २० लाख ६० हजार ७ सय ९५ कित्ता सेयर किनबेच भए । कुल बजार पुँजीकरण बढेर १९ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्यो, ५६ कम्पनीको घट्यो र ११ कम्पनी सेयर मूल्य स्थिर छ ।

Page 16
अर्थ वाणिज्य

गाउँभरि माछापालन

- कान्तिपुर संवाददाता

ताप्लेजुङ– फुङलिङ नजिकको एउटा बस्तीका २९ परिवारका घरमा माछापालन गरिएको छ । उनीहरूले व्यवसायभन्दा सोखका लागि माछापालन गरेका हुन् ।

गाउँभरि नै माछापालन गरिएकाले यो बस्ती ‘माछा पोखरी’ का नामले चिनिन थालेको छ । ‘यसरी माछा पाल्न थालेको चार दशक भयो,’ स्थानीय राजेन्द्र एङदेनले भने, ‘कुलेन्द्र मादेनले ०२८ सालमा भोजपुरबाट ल्याएका माछा गाउँभरि फैलिए ।’ भानुजन माविले १० कक्षाको शैक्षिक भ्रमण भोजपुरको षडानन्द माध्यमिक विद्यालयमा लगेका बखत मादेनले ३ हजार भुरा माछा लिएर फर्किएका थिए । ‘मैले घरमा माछाको भुरा लिएर आएको थिएँ,’ उनले भने, ‘बुबाले पछि भुराहरू गाउँभरि दिनुभयो । गाउँले सबैले पोखरी बनाएर पाले । सबैतिर फैलियो ।’

हर्क एङदेनको पोखरीमा हाल पनि १४ वर्षको माछा भएको स्थानीय बताउँछन् । चारो दिएको, चलेको बेला देखिन्छ । साना माछा खाने डरले उसका लागि छुट्टै पोखरी बनाइएको छ । टोलका बासिन्दा खान्दानी परिवारका भएकाले माछा बेच्ने र पैसा आर्जन गर्नेभन्दा पनि सोखका लागि पाल्ने गरेका छन् । माछा पालेर आम्दानी गर्न सकिने भए पनि अभिभावकको मन जित्न नसकिएको कुलदीप मादेन बताउँछन् । ‘घरमा आउने पाहुनालाई सबैले खुवाउँछन् । तर, व्यावसायिक विकास हुन सकेन,’ मादेनले भने । विनोद एङदेनले व्यावसायिक माछापालनका लागि समाजलाई बुझाउनुपर्ने बताए । व्यावसायिक माछापालनका लागि युवा पुस्ताले दबाब दिइरहेको छ । पानी प्रशस्त भएको र पोखरीमा माछा फस्टाउने देखिएकाले व्यावसायिक रूपमा पाल्नुपर्ने उनीहरूको बुझाइ छ । हालसम्म चढाउन, पाहुनालाई खुवाउन र परिवारले खानका लागि प्रयोग हुँदै आएको छ । यहाँ २९ परिवारका ४५ वटा पोखरी छन् । भुरा आफैं उत्पादन गर्ने र कतिपयले झापाबाट झिकाउने गर्छन् ।

अर्थ वाणिज्य

आर्थिक अभावले सडक निर्माण प्रभावित

- शंकर आचार्य
पथलैया–परवानीपुर–सुक्खा बन्दरगाह सडकअन्तर्गत परवानीपुर खण्ड ।     तस्बिर : शंंकर/कान्तिपुर

पर्सा– आर्थिक अभावका कारण वीरगन्ज–पथलैया ६ लेन सडकको निर्माण प्रभावित भएको छ । निर्वाचन आचारसंहिता लागू भएपछि रकम निकासा
नभएर अभाव भएको हो । त्रिभुवन राजपथको पथलैयादेखि परवानीपुर हँुदै सिर्सिया सुक्खा बन्दरगाहको सडकलाई ६ लेनको बनाउन लागिएको छ । उक्त सडकको निर्माण ८ महिनाअघि सुरु भएको हो । हिजोआज रकम अभावले सुस्त गतिमा काम भएको छ । उक्त २४ किमि सडक खण्डलाई
६ वटा प्याकेजमा निर्माण गर्न थालिएको छ ।

प्रत्येक प्याकेजका लागि छुट्टाछुट्टै ठेक्का लगाइएको छ । परवानीपुरदेखि सुक्खा बन्दरगाहसम्मको पहिलो प्याकेजको सडक निर्माणको ठेक्का भारतीय कम्पनी एएमआर, स्वदेशी कम्पनी पप्पु कन्सट्रक्सन र कन्टेकले
संयुक्त रूपमा पाएका छन् । दोस्रो प्याकेज निर्माणको ठेक्का श्रेष्ठ, बिरुवा र एपेक्स कम्पनीले पाएका छन् ।

त्यसैगरी तेस्रो प्याकेजको ठेक्का लुम्बिनी र पप्पु कन्सट्रक्सनले पाएका छन् । चौथो प्याकेजको एएमआर र कन्टेकले, पाँचौं प्याकेजको शर्मा, युनाइटेड र दिवा निर्माण कम्पनीले र छैठौं प्याकेज सडकको ठेक्का एएमआर र कन्टेकले पाएका छन् । पहिलो प्याकेज ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनका प्रबन्ध निर्देशक सुमित रौनियारले सबै प्योकजका लागि भनी प्राप्त करिब ३५ करोड रुपैयाँ सकिएको बताए । ‘हाल करिब ५० देखि ६० करोड रुपैयाँ बराबरको काम भइसकेको छ,’ उनले भने, ‘स्थानीय निर्वाचन भएकाले निर्वाचन आयोगले नै रकम निकासामा रोक लगाएकाले काम पनि ठप्प जस्तै छ ।’

यी प्याकेजका कामबाहेक सुक्खा बन्दरगाह चोकदेखि एकीकृत सुरक्षा जाँच चौकी ‘आईसीपी’ सम्मको थप ५ सय मिटर सडक ६ लेन निर्माणको कामको ठेक्का पनि मन्त्रिपरिषदको निर्णयबाट पहिलो प्याकेजकै कम्पनीले पाएका छन् । तर, सडक छेउका जग्गा अधिग्रहण समस्याका कारण यो काम पनि सुरु हुन सकेको छैन ।

सिर्सिया सुक्खा बन्दरगाहको पश्चिमतर्फ आईसीपी निर्माण भइरहेको र सम्भवत: यसै वर्ष वीरगन्ज भन्सार पनि त्यहाँ स्थानान्तरण हुने भएकाले यो सडकको काम सक्न हतारो भएको जानकार बताउँछन् । मुलुककै अति व्यस्त सडक खण्डमध्येको एक वीरगन्ज–पथलैया सडक खण्डलाई ६ लेनको बनाउनुपर्ने माग यस भेगका बासिन्दादेखि उद्योगी व्यवसायीले लामो समयदेखि गर्दै आएका थिए । वीरगन्ज उद्योग वाणिज्य संघले पनि यो सडक विस्तारको माग गरेको थियो ।

हालको २ लेनको यो सडक खण्ड यात्रुबाहक तथा मालबाहक सवारी साधनको अत्यधिक चापले साघुँरो भएको छ । चालकहरूलाई यसे सडक खण्डमा सवारी चलाउन कठिन हुने गरेको बताउँछन् । सडक निर्माणका लागि पथलैयामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यापारिक मार्ग विस्तार योजना (वीरगन्ज–पथलैया) कार्यालय स्थापना गरेको छ । हाल ६ लेनको निर्माण गरिने सडकका लागि आवश्यक कुल ४२ मिटर जग्गा उपलब्ध भएको छ । ६ लेन सडकमध्ये २४ मिटरमा मुख्य सडक, ३ मिटर डिभाइडर, १० मिटर सर्भिस सडक र बाँकी ५ मिटर फुटपाथका लागि छुट्याइएको छ ।

Page 17
अर्थ वाणिज्य

निर्धारित मिति अगावै यार्सा संकलन सुरु

- मनोज बडू

दार्चुला– यार्सागुम्बु पाइने बन २ साताअघि नै खुलेका छन् । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनगर गर्दै सरोकारवाला निकायको सहमतिमा निर्धारित मिति अगावै वन खुलेको हो ।

‘यार्सागुम्बा व्यवस्थापन मार्गदर्शन २०७३’ ले देशभरिका यार्सागुम्बु पाइने वनहरू जेठको पहिलो साता खुल्ने भनिएको छ । यार्सा संरक्षणलाई व्यवस्थित गर्न यसै वर्षबाट देशैभरि एउटै मितिमा वनहरू खोल्न वन तथा भू–संरक्षण मन्त्रालयले ‘यार्सागुम्बा व्यवस्थापन मार्गदर्शन’ बनाएको हो । मातहतका कार्यालयलाई सोहीअनुसार यार्सा संकलन गराउनसमेत निर्देशन दिएको छ । दोस्रा चरणको निर्वाचनलाई मध्यनजर गर्दै सर्वपक्षीय निर्णयअनुसार निर्देशिकाभन्दा अगावै यार्सा संकलन सुरु गरिएको संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए ।

जिल्लाको व्यास, राप्ला, खण्डेश्वरी, घुसा, सितोला र गुल्जरका पाटनहरूमा यार्सागुम्बु पाइन्छ । उक्त ठाउँका दर्जन बढी पाटनहरूमा जिल्लाभित्र र बाहिरका गरी हजारांैको संख्यामा यार्सागुम्बा संकलक पुग्ने गरेका छन् । यार्सा संकलन कार्यलाई व्यवस्थित गर्न संरक्षण कार्यालयले गत वर्षदेखि संकलन पुर्जी अनिवार्य गरेको छ ।

संकलनकर्ताहरू वैशाख पहिलो साताबाट नै जिल्लाका विभिन्न पाटनहरूमा यार्सालगायत अन्य जडीबुटी संकलन गर्न हिँडिसेकेका भए पनि कार्यालयले वैशाख २० बाट संकलन अनुमति पत्र वितरण सुरु गरेको हो । यार्सागुम्बा व्यवस्थापन मार्गदर्शनअनुसार अनुमति पत्रका लागि संरक्षण क्षेत्रभित्रका संकलकले ५ सय, संरक्षण क्षेत्र बाहिरकाले २ हजार र जिल्ला बाहिरका संकलकबाट ३ हजार शुल्क तोकिएको छ । सिफारिस दस्तुर भन्दै थप १ सय अतिरिक्त लिन थालेपछि स्थानीयले त्यसको विरोध जनाएका छन् ।

संरक्षण क्षेत्रको मुख्य कार्यालय खलंगालगायत घुसाको खाइकोट, खण्डेश्वरीको क्षेत्ती, गुल्जरको पारिबगड, सितोला, राप्लाको दुम्लिङ, सुन्सेराको तुसरपानी, व्यासको दोखसे र गागाबाट संकलन अनुमति पत्र वितरण भइरहेको प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताए । अनुमति पत्र नलिई यार्सालगायत अन्य जडीबुटी संकलन कार्य गरे जडीबुटी र संकलनका औजारहरू जफत गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार थप कारबाही गरिने कार्यालयले जनाएको छ ।

अर्थ वाणिज्य

मोरङ व्यापार संघमा पुन: सारडा

- कान्तिपुर संवाददाता

विराटनगर– मुलुककै जेठो व्यापारिक संस्था मोरङ व्यापार संघको अध्यक्षमा पवनकुमार सारडा चुनिएका छन् । नेपाल लोकतान्त्रिक फोरमका सांसदसमेत रहेका उनी यसअघि पनि अध्यक्ष थिए । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा चयन भएका छन् । वाणिज्यतर्फ उपाध्यक्षमा सुशीलकुमार जोशी चयन भएका छन् । उद्योगतर्फ उपाध्यक्षमा सुनील टिवडेवाल चुनिए । यसैगरी महासचिवमा नवीन रिजाल र सचिवमा अनिलकुमार साह चयन भए ।

यसअघि सदस्यहरूमा अनुपम राठी, अनील सारडा, दीपेश सुवेदी, पवन राठी, देवाशिष गोल्छा, ललित बोहरा निर्वाचित भएका थिए । यसैगरी सदस्यमा पियुष तोदी, विकासकुमार बेगवानी, मुकेशकुमार राठी, मनीषकुमार मारू, राजन श्रेष्ठ र सुनीलकुमार बिडला निर्वाचित भएका थिए ।
संघको तीन दिनअघि भएको निर्वाचनमा चुनिएका सदस्यमध्येबाट अध्यक्षलगायत पदाधिकारी बिहीबार चयन गरिएका हुन् ।

अर्थ वाणिज्य

पर्यटकीय गन्तव्य बन्दै तिलौराकोट

- मनोज पौडेल
लुम्बिनीस्थित बुद्ध जन्मस्थलमा सेल्फी खिच्दै विदेशी पर्यटक ।  तस्बिर : मनोज/कान्तिपुर
  • विकास र संरक्षणको काम धमाधम
  • पर्यटक र बौद्धधर्मावलम्बीको आवागमन बढ्दै

कपिलवस्तु– विकास र संरक्षणसँगै तिलौराकोट पर्यटकीय क्षेत्र बन्दै गएको छ । लुम्बिनी विकास कोषले यहाँको विकास गर्न थालेपछि विदेशी पर्यटको आवागमन बढेको हो । बुद्धस्थल संरक्षण र विकास गर्न लुम्बिनी विकास कोषलाई जिम्मेवारी दिएको छ । यसअघि विकासको काम हुन सकेको थिएन । २/३ वर्षयता विकासका काम हुन थालेका छन् । यसबाट विदेशी पर्यटक आकर्षित हुन थालेका छन् । पूर्वाधार विकास नहुँदा बौद्ध धर्ममा आस्था भएकाहरू पनि कमै आउनेमा हिजोआज अवस्था फेरिएको छ ।

 पश्चिमीदेखि पूर्वी द्वारसम्म पैदल यात्रु हिँडने काठको ‘वाक वे’ बनाइएको छ । ६ फुट चौडा यो बाटो ४ सय ५० मिटर लामो छ । पश्चिमी द्वारबाट पैदल यात्रु छिर्ने गरी यो बाटो बनाइएको हो । बुद्धका समय राजप्रासादभित्र जुन ढोकाबाट प्रवेश गरिन्थ्यो, त्यसैको झल्को दिने गरी यसको निर्माण गरिएको लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईले बताए । पर्यटक र उपासक उपासिकालाई ध्यान बस्न, आराम गर्न दरबार परिसरभित्र ५ ठाउँमा काठका विश्राम स्थल बनाइएका छन् । पर्यटकलाई लक्षित गरी आगामी आर्थिक वर्ष तिलौराकोटमा आधुनिक सूचना केन्द्र र प्रशासनिक भवन निर्माण कार्यक्रम अघि बढाइएको छ । ‘यसको डिजाइन बन्दै छ,’ कोष सदस्य राजेश ज्ञवालीले भने, ‘त्यसैका आधारमा बजेट विनियोजन गरिन्छ ।’ बसपार्क बनाउन कोषले कपिलवस्तु नगर पालिका ७ शिवगढ र रामघाट क्षेत्रमा जग्गा खोज्ने काम गरिरहेको छ । बुद्धका जीवनगाथा र महत्त्वपूर्ण ऐतिहासिक तथा पुरातात्त्विक वस्तु प्रदर्शन गर्न नयाँ आधुनिक संग्रहालय बन्ने काम अन्तिम चरणमा पुगेको छ ।

पुरातत्त्व विभागले कपिलवस्तु नगरपालिका ७ रामघाटमा भवन बनाउन लागेको हो । ३ वर्षभित्र निर्माण गर्ने गरी सानो सुवाल, ड्रयागन र एसबी जेभीले काम थालेका हुन् । ०७५ असारमा पूरा हुने गरी निर्माण थालिएको छ । संग्रहालय १ सय ३१ फिट लम्बाइ र ८१ फिट चौडाइको छ । संग्रहालय भवनसँगै साइकल, मोटरसाइकल राख्ने पार्किङस्थल र क्यान्टिन पनि निर्माण भइरहेको छ । पूर्व–पश्चिम राजमार्गबाट छोटो दूरीमै तिलौराकोट पुगिने ठाउँमा पक्की पुल बनेको छ । रामघाट नदीमा पुल बनेपछि तिलौराकोट आवतजावत गर्न सजिलो भएको छ ।
राजमार्गस्थित गोरुसिंगेबाट ९ किमिमै तिलौराकोट पुगिने भएको छ । गोरुसिंगे–तौलिहवा सडक खण्ड कालोपत्रे भएको छ । अब स्वदेशी र विदेशी पर्यटकको आगमन बढ्ने कोषका प्रमुख माधव आचार्यले बताए । गत वर्ष स्वदेशी र विदेशी गरी ३५ हजार पर्यटक आएका थिए । चालु आवमा पनि ३३ हजारभन्दा बढी पर्यटकले तिलौराकोट अवलोकन गरिसकेका छन् ।

जग्गा अधिग्रहण प्रक्रिया
तिलौराकोट क्षेत्रको किल्ला पर्खाल बाहिर रहेका पुरातात्त्विक महत्त्वका जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । चालु आवमा १२ हेक्टर जग्गा अधिग्रहणका लागि प्रक्रिया सुरु गरिएको छ । प्राचीन कपिलवस्तु राज्यको राजधानी सहर तिलौराकोटको विस्तार गरी विकास गर्न यसपटक पूर्व, पश्चिम र उत्तर क्षेत्रमा जग्गा अधिग्रहण थालिएको हो । हाल तिलौराकोट ३५ बिघामा रहेको छ । ‘लुम्बिनीमा धेरै भौतिक पूर्वाधारका काम भए,’ सचिव अजितमान तामाङले भने कोषले तिलौराकोटमा ध्यान केन्द्रित गरेको छ । ५/७ वर्षभित्र तिलौराकोट मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने उनले बताए । पर्यटन विकासका लागि कोषले गुरु योजना बनाइरहेको तमाङले जानकारी दिए ।

उत्खनन जारी
युनेस्को र जाप्निज फन्ड इन ट्रस्टको सहयोगमा तिलौराकोट उत्खनन अन्वेषण परियोजनाअन्तर्गत अध्ययन अनुसन्धान भइरहेको छ । ६ वर्षदेखि बेलायलतको डुह्राम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघम र बेलायतकै युनिभर्सिटी अफ स्टर्लिङका प्रोफेसर इयान ए सिमसन अध्ययन अनुसन्धान गर्दै छन् । तिलौराकोट (प्राचीन कपिलवस्तु) को ऐतिहासिकता पुष्टि भएको छ । पाँचौं शताब्दीमा आएका चिनियाँ यात्री फायहान र सातौं शताब्दीमा आएका हवेङसानले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका तथ्य भेटिएपछि तिलौराकोटको प्राचीनता पुष्टि हुँदै गएको हो ।

संरक्षणको थालनी
शाक्य राजधानी तिलौराकोटको पश्चिमी द्वारदेखि ४० मिटर पूर्व–उत्तरको पुराना भग्नावशेषमा इँटा जोडेर संरक्षण गरिएको छ । धार्मिक गतिविधिका लागि प्रयोग भएको अनुमान गरिएको एक कोठाका वास्तु अवशेषमा सातादेखि सुर्खी र चुनाले इँटा जोडिएको छ । भिक्षुहरूले प्रार्थना गर्ने वा अन्य कुनै धार्मिक कामका लागि उपयोग भएको हुन सक्ने अनुमान गरिएको कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताए । उक्त संरचनासँगै जोडिएका ससाना ८ कोठाको पनि संरक्षण गरिएकोछ । ठूलो राजधानीभित्र सहर वा बजार क्षेत्र भएको अनुमान गरिएको उक्त कोठा पनि संरक्षण गरिएको छ । उक्त ठाउँदेखि २० मिटर दक्षिण रहेको बिहार क्षेत्र पनि संरक्षण गरिँदै छ ।

Page 18
समाचार

ओबर सम्झौतामा हस्ताक्षर आज

- कान्तिपुर संवाददाता

काठमाडौं– छिमेकी चीनले विकासमा सहकार्य भन्दै अघि बढाएको महत्त्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’ (ओबर) मा नेपाल शुक्रबारदेखि औपचारिक सदस्य बन्ने भएको छ । परराष्ट्रमन्त्रीको उपस्थितिमा सचिव शंकरदास बैरागी र चिनियाँ राजदूत यू होङले शुक्रबार बिहान ओबरको ‘फ्रेमवर्क सम्झौता’ मा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

सम्झौताका लागि चिनियाँविज्ञ टोली बिहीबार अबेर काठमाडौं आइपुगेको छ । परराष्ट्र सचिव बैरागी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै शुक्रबार बिहान थाइल्यान्ड र श्रीलंका जान लागेका कारण विमानस्थल पुग्नुअघि हस्ताक्षर गर्ने तयारी गरिएको परराष्ट्र अधिकारीले जानकारी दिए । चीनमै परराष्ट्रमन्त्री स्तरमा हस्ताक्षर गर्ने भनिए पनि समय कम भएकाले सचिव स्तरबाट गराइएको अधिकारीहरूले जनाएका छन् । चीनका तर्फबाट भने परराष्ट्र सचिवको अख्तियारी राजदूत यूलाई दिइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले यसबारे निर्णय गरेको थियो । नेपालले सन् २०१४ को आरम्भमा ओबरमा जाने प्रारम्भिक सहमति गरेकामा औपचारिक पत्राचार हुन डेढ वर्ष लागेको थियो । त्यसपछि निष्कर्षमा पुग्न अर्को ९ महिना लागेको हो ।

चीनले आफ्नो योजनाका विषयमा विश्वलाई उत्साहित बनाउन वैशाख ३१ र जेठ १ मा बेइजिङमा अन्तर्राष्ट्रिय ओबर सम्मेलन गर्दै छ । त्यसमा विश्वका उच्च नेताहरू सहभागी हुनेछन् । नेपालबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा अन्य दुई मन्त्रीसहित ११ सदस्यीय टोली त्यसतर्फ जाँदै छ । उक्त टोली सम्मेलनमा सहभागी हुनुअगावै सम्झौता आवश्यक रहेकाले पनि पछिल्लो समय ‘हतारो’ भएको हो ।
‘मुलुकको हितको तयारी के कति गरेको छ, त्यो सरकारको विषय हो । तर, चीनका लागि यो सम्झौता नेपालको ठूलो सहयोग र सद्भाव हो,’ ओबरलाई नजिकबाट नियाल्दै आएका एक परराष्ट्र अधिकारीले भने । चीनले आफ्नो व्यापार/बजार विस्तारका साथै छिमेकका मुलुकलाई समेत फाइदा पुग्न सक्ने बताउँदै आएको ओबर परियोजना सन् २०१३ मा अघि बढाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि ओबरबारे दूतावास र परराष्ट्र मन्त्रालयबीच पटकपटक छलफल भएको थियो । मन्त्रालयले यसमा पहिलेदेखि नै छलफल र तयारी गरिरहेको दाबी गरेको छ । ‘दुईपक्षीय लामो छलफल र गृहकार्यबाटै हस्ताक्षर गर्ने बिन्दुमा हामी पुगेका हौं । यसमा अध्ययन र छलफल भएको छ,’ परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले भने । चीनले पश्चिमी भागबाट मध्य एसिया हँुदै युरोप, मध्यपूर्व, दक्षिण एसियासम्मै रेलमार्गले जोड्ने परिकल्पना यो परियोजनामा गरिएको छ ।

समाचार

चुनाव सुरक्षामा कडाइ

- जनकराज सापकोटा

काठमाडौं– पहिलो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा देशभरको सुरक्षा सुदृढ पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पहिलो चरणको मतदान हुने सबै मतदान केन्द्रमा सुरक्षाका लागि प्रहरी परिचालन गरिसकिएको प्रधान कार्यालयले बताएको छ । ‘सबै तयारी सकिइसकेको छ । प्रहरी र सुरक्षाका निम्ति आवश्यक बन्दोबस्तीका सामान सबै मतदान केन्द्रसम्म पुगिसकेको छ,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भने ।

प्रहरी प्रधान कार्यालयले निर्वाचन हुने सबै जिल्लाका प्रहरीलाई निर्वाचनविरोधी गतिविधि गर्न सक्नेमाथि थप निगरानी बढाउन र निर्वाचनको विरोधमा संलग्नलाई तुरुन्तै पक्राउ गरिहाल्न सर्कुलर जारी गरेको छ । प्रवक्ता खनालले भने, ‘सुरक्षा खतरा हुन सक्ने जो कोही पनि समातिन सक्छन् ।’ नेपाल प्रहरीले देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा विप्लव माओवादीका १ सय ३० कार्यकर्तालाई पक्राउ गरेको छ । त्यस्तै गुन्डा तथा आपराधिक पृष्ठभूमिका ४४ जना पक्राउ परिसकेका छन् । निर्वाचन सुरक्षामा नेपाल प्रहरीले २२ हजार ५ सय ७५ प्रहरी र २६ हजार १ सय ४ म्यादी प्रहरी खटाएको छ । त्यस्तै ४ हजार ९ सय प्रहरीलाई भने रिजर्भ र स्ट्राइकिङ गरी खटाइएको छ ।

सेना पनि तयारी अवस्थामा
यसैगरी सैनिक प्रवक्ता भंकरबहादुर कडायतले निर्वाचन सुरक्षा योजनाअनुसार सेनाका तर्फबाट गर्नुपर्ने सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । ‘योजनाअनुसार कहाँ, कति खटिनुपर्छ, त्यो पूरा भइसकेको छ । साथै, परिस्थिति हेरेर आवश्यक कारबाहीका लागि पनि तयारी भइसकेको छ,’ कडायतले भने । उनले निर्वाचन सुरक्षा योजनाअनुसारै काठमाडौं, सुर्खेत, पोखरा र हेटौंडामा हेलिकप्टरहरू तयारी अवस्थामा राखिने बताए ।

मतगणना केन्द्रमा सीसीटीभी
महानगरीय प्रहरी प्रभागले काठमाडौं उपत्यकाका तीनै जिल्लाका मुख्य मतदान केन्द्रमा सुरक्षाका निम्ति सीसीटीभी राख्ने भएको छ । प्रभागका प्रमुख डीआईजी बमबहादुर भण्डारीका अनुसार भक्तपुरका चार मतगणना केन्द्रमा सीसीटीभी राख्ने काम सुरु भइसकेको छ भने काठमाडौं र पाटनस्थित मतगणना केन्द्रमा पनि सीसीटीभी राख्नेबारे तयारी भइरहेको छ । भण्डारीका अनुसार उपत्यकाका सार्वजनिक स्थलमा रहेका करिब तीन सय सीसीटीभीमार्फत २४ सै घण्टा सुरक्षा स्थिति निगरानी गरिएको छ ।

चुनावको दिन नजिकिएसँगै प्रभागले उपत्यकाका तीन जिल्लाको सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ । प्रभागले उपत्यकाका सबै मतदान केन्द्रमा प्रहरी र म्यादी प्रहरीहरूले सुरक्षा दिन थालिसकेको बताएको छ । त्यस्तै उपत्यकामा नियमित र आकस्मिक सुरक्षा चेकजाँच पनि बढाइएको छ । उपत्यकाका सबै प्रहरी परिसर, वृत्त र एकाइका गाडीहरू सुरक्षामा मोबाइल खटिएका छन् । भण्डारीका अनुसार त्यस्ता टोलीले आवश्यक परेको स्थानमा जहाँ पनि जुनसुकै बेला चेकजाँच गर्न सक्छन् । सशस्त्र प्रहरीसँगको समन्वयमा चेकजाँच गरिरहेको भण्डारीले बताए । मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीले केन्द्रका अलावा त्यस वरपरको सुरक्षामा पनि केन्द्रित हुनेछन् र सुरक्षा सतर्कता बढाउनेछन् ।

प्रभागले निर्वाचनविरोधी गतिविधि गरिरहेका विप्लव माओवादीका सात जनालाई उपत्यकाबाट पक्रेको छ । डीआईजी भण्डारीले भने, ‘विप्लव माओवादीका अरू नेता पनि निगरानीमा छन् । चुनावविरोधी गतिविधि गर्नेलाई छाड्दैनौं ।’ दर्तावाल हतियार लिएका तर जिल्ला प्रशासन कार्यालयको अनुरोधका बाबजुद फिर्ता नगरेका माथि पनि प्रहरी निगरानी बढाइएको छ ।


स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नवलपरासीमा सुरक्षा गस्ती गर्दै नेपाली सेना । तस्बिर : रासस

समाचार

आचारसंहिता पालना होस्

मानव अधिकार आयोगले भन्यो–
- कान्तिपुर संवाददाता

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले सबै दललाई निर्वाचन आचारसंहिताको अक्षरश: पालना गर्न र गराउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षाको स्थिति थप प्रभावकारी बनाउन सरकारलाई र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह गरेको हो ।

मानव अधिकार आयोगले आसन्न स्थानीय तहको निर्वाचनको अनुगमनका लागि ३ प्रदेशका ३४ वटै जिल्लामा ३५ अनुगमन टोली खटाएको जनाएको छ । निर्वाचन अनुगमनका लागि आयोगले नागरिक समाजका प्रतिनिधिहरू संलग्न रहेको आयोगका अध्यक्षको नेतृत्वमा उच्चस्तरीय अनुगमन टोलीसमेत गठन गरेको आयोगकी प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, निर्वाचन पर्यवेक्षण गर्ने विभिन्न संघसंस्थासँग आयोगले सूचना आदान–प्रदान गर्ने, समन्वय र सहकार्य गर्ने तयारी गरिरहेको जनाएको छ ।

दोलखा जिल्लामा राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भई एक जनाको मृत्यु भएको घटना सम्बन्धमा पनि दु:ख व्यक्त गरेको छ । घटनाको सत्यतथ्य अनुसन्धान गरी संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको प्रभावकारी उपचार गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले बिहीबारै आसन्न स्थानीय तहको निर्वाचनका सम्बन्धमा निर्वाचन पर्यवेक्षक संघसंस्थासँग छलफल गरेको थियो । निर्वाचनको पर्यवेक्षण गर्ने संस्था र राष्ट्रिय मानव अधिकार आयोगबीच निर्वाचन पर्यवेक्षण सम्बन्धमा सहकार्य र एकआपसमा सूचना आदानप्रदान गर्नु वाञ्छनीय हुने भएकाले सम्पर्क र सूचनाको सम्प्रेषण गर्ने तरिकाबारे कार्यक्रममा छलफल भएको थियो ।

निर्वाचनको अवस्थाबारे विस्तृत छलफल भई निर्वाचनपूर्वका घटना, झडप र दु:खद मृत्युसमेत हुँदा सुरक्षाको वातावरण सहज नभएकोप्रति सबैको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । मतदानका दिन कुनै अप्रिय घटना घटेमा मतदाता तथा पर्यवेक्षकको तत्काल उद्धार कार्य गर्नका लागि सुरक्षा निकायको प्रभावकारी भूमिका हुनु जरुरी रहेको र त्यसका लागि राजनीतिक दलहरूको सहयोग र संलग्नता हुनुपर्ने आयोगले गरेको छलफलको निष्कर्ष छ । आयोगले विज्ञप्तिमार्फत नै निर्वाचनका विपक्षमा रहेको नेकपा माओवादी (विप्लव) समूहलाई निर्वाचन विरोधी तथा हिंसात्मक गतिविधि नगर्न, नगराउनसमेत आयोग विशेष आग्रह गरेको छ ।

समाचार

पत्रकार लम्साल राजदूत नियुक्त

- कान्तिपुर संवाददाता

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा डेनमार्कको राजदूतमा पत्रकार युगनाथ लम्साललाई बिहीबार नियुक्त गरेकी छन् । कुर्घा ३ पर्वतका लम्साल लामो समयदेखि सरकारी स्वामित्वमा रहेको ‘दि राइजिङ नेपाल’ मा रहेर पत्रकारिता गर्दै आएका व्यक्ति हुन् । एक वर्षदेखि खाली रहेको उक्त नियोगमा जतिसक्दो छिटो जिम्मेवारी सम्हाल्ने लम्सालले बताएका छन् । वर्तमान सरकारले गरेको १२ राजदूतको सिफारिसमा उनी पुन: परेका हुन् । १२ मध्ये ७ राजदूत नियुक्त भइसकेका छन् । अन्यको एग्रिमो आउने क्रममा छ ।


समाचार

नेपाली व्यवसायी कतारमा पक्राउ

- कान्तिपुर संवाददाता

काठमाडौं– कतारमा स्थापित नेपाली व्यवसायी अशोक श्रेष्ठलाई चेक बाउन्सको मुद्दामा प्रहरीले पक्राउ गरेको छ । उनलाई ‘क्यापिटल पुलिस’ को थुनामा राखिएको छ ।

दुबईबाट फर्किने क्रममा उनलाई हमाद विमानस्थलबाट पक्राउ गरिएको हो । कतारमा उनले सञ्चालन गर्दै आएको ‘कतार मेड सर्भिस कम्पनी’ क्लिनिङका क्षेत्रमा स्थापित छ ।

झन्डै एक दशकदेखि व्यवसाय गर्दै आएका श्रेष्ठले चार वर्षदेखि कतार एयरवेजलाई नेपालीसहित दक्षिण एसियाबाट कामदार पठाउँदै आएका थिए। उनले ‘स्टाफ सोर्स इन्टरनेसनल’ मार्फत कतार एयरवेजलाई कामदार आपूर्ति गर्थे । त्यसबापत एयरवेजले प्रतिकामदारको कमिसन दिने गर्छ ।

स्रोतका अनुसार एक कतारीलाई दिएको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए । नेपाल पर्यटन बोर्डबाट सद्भावना पर्यटन दूतसमेत रहेका श्रेष्ठको कम्पनीविरुद्ध १० महिनाअघि विवाहित नेपाली महिला सिर्जना श्रेष्ठले हालेको मुद्दा उच्च अदालतमा चलिरहेको छ । उनलाई गर्भवती भएको भन्दै कम्पनीले निष्कासन गरेपछि उनी क्षतिपूर्ति माग्दै अदालत पुगेकी हुन् । उनी आफ्नो शिशु र श्रीमान्सँग कतारमै बसिरहेकी छन्।
श्रेष्ठ पक्राउ भएपछि स्पोन्सरले दुवै कम्पनी नियन्त्रणमा लिएका छन् । उनका ठाउँमा एक स्पेनी नागरिकलाई जिम्मा दिइएको छ । कतारमा कार्यरत नेपाली व्यवसायीहरूका अनुसार स्पोन्सरसँग आर्थिक लेनदेनसम्बन्धी विवादबाट समस्या सिर्जना भएको हो ।

समाचार

राष्ट्रपति आज थाइल्यान्ड जाँदै

- कान्तिपुर संवाददाता

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार थाइल्यान्ड प्रस्थान गर्दै छिन् । उनी थाइल्यान्ड हुँदै श्रीलंकाको ५ दिने औपचारिक भ्रमणमा निस्कन लागेकी हुन् । श्रीलंकासँग सिधा उडान नभएकै कारण भण्डारी बिहान १०.१५ बजेको नेपाल एयरलाइन्सको उडानमा थाइल्यान्ड प्रस्थान गर्नेछिन् । थाइल्यान्ड पुगेलगत्तै राष्ट्रपतिले स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गर्नेछिन् । बैंककमा एक दिन बसेर उनी शनिबार श्रीलका पुग्नेछिन् ।

अन्तर्राष्ट्रिय वैशाख दिवसको कार्यक्रममा सहभागी हुन राष्ट्रपति श्रीलंका जान लागेकी हुन् । बुद्धजयन्तीका अवसरमा भण्डारी क्यान्डी सहरमा हुने कार्यक्रममा सहभागी हुनेछिन् । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुग्ने कार्यक्रम छ । उद्घाटनका प्रमुख अतिथि मोदी हुन् भने समापनका प्रमुख अतिथि राष्ट्रपति भण्डारी हुनेछिन् । उनी जेठ २ मा स्वदेश फर्कने कार्यक्रम छ ।

Page 19
खेलकुद

हारले रोकिएन रियल

- वार्ने राने
च्याम्पियन्स लिग फाइनल पुगेपछि रियल म्याड्रिड टिम । क्रिस्टियानो रोनाल्डो र इस्को पहिलो गोल भएपछि (माथि) ।     तस्बिर : रोयटर्स

लन्डन– अपेक्षाअनुरुपै रियल म्याड्रिड फेरि पनि युभेन्ट्ससँग च्याम्पियन्स लिग फाइनल खेल्न कार्डिफ जाने भएको छ । यो उसको चार वर्षमा तेस्रो फाइनल हो । भिन्सेन्ट काल्डेरोनमा भएको रोमान्चक सेमिफाइनल दोस्रो लेगमा एट्लेटिकोसँग २–१ ले हारे पनि रियलले ४–२ को सग्रगबाट फाइनल तय गरेको हो । दोस्रो लेग यति गज्जबले खेल्ने डिएगो सिमोनीको टोलीले बेर्नाबेउमा चाहिँ ३–० को निरस हार खेपेको थियो । अन्तिम सिठी बज्दा रंगशालामा हावाहुरी चलिसकेको थियो, सिमोनीले दर्शकलाई अभिभादन गरिरहेका थिए ।

उनले एट्लेटिको छाड्ने किसिमको संकेत कुनै ढंगले पनि दिएनन् । तर शीर्षस्थ प्रतियोगिताको अन्तिम चरणमा आएर भएका केही भुलहरूप्रति रंगशालामा केही असन्तुष्टि झल्केको चाहिँ देखिन्थ्यो । उच्चस्तरका फुटबलमा प्राप्त अवसर सदुपयोग गर्ने विषय सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यति बेला रियलको प्रतियोगिताको उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने सम्भावना देखिन्छ । टिमका लागि वास्तवमै ठूलो उपलब्धि हुनेछ ।

खेलको सुरुआत एट्लेटिकोले सानदार ढंगले गरेको हो । उसले रियल मिडफिल्डलाई निकै दबाबमा राख्दै २ गोलको अग्रता लिइहाल्यो । जससँगै कुल गोलफलको अवस्था ३–२ मा झऱ्यो ।  रियलले दबाब चिर्न दोस्रो हाफ कुर्नुपर्‍यो । लुका मोड्रिक र इस्कोले खेलमा गति भर्ने काम गरे । यस्तो अवस्थामा सामान्य क्लबहरू थप पतनतर्फ जाने खतरा रहन्छ । तर महारथी रियलले सहरी प्रतिद्वन्द्वीसँग आफूलाई अनुभव र प्रतिभाका बलले सम्हाल्यो । यो एट्लेटिकोले आधा शताब्दीदेखि उपयोग गरिरहेको रंगशालाको बिदाइ खेलसमेत थियो । क्लबले नयाँ रंगशाला निर्माण गरिरहेको छ । खेल सुरु हुनुअघि रंगशाला बाहिरका सडक राता र सेतो जर्सीमा सजिएका समर्थकले भरिएको थियो । यो अर्को एउटा म्याड्रिड डर्बी मात्र थिएन, काल्डेरोनको खास अन्तिम उत्सव पनि थियो ।

समर्थकहरूले यो अवसरलाई निकै उत्साहपूर्वक लिए । पहिलो लेगमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा टोलीले मार खाइसकेको अवस्थाामा एट्लेटिकोले गर या मरको भावनामा खेल्ने अनुमान थियो, जुन देखियो नै । सिमोनीले रक्षापंक्तिमा फर्नान्डो टोरेज र एन्टोनी ग्रिजम्यान उतारे । दुवै सीप भएका स्ट्राइकर हुन् । टचलाइनमा सिमोनीको जोश बेग्लै थियो । खेलाडीहरूले पनि बलजफती खेलको चेस्टा देखाए । सर्जियो रामोस र लुका मोड्रिक लडाइए । टोरेजको प्रहारलाई गोलरक्षक केलर नाभासले रोके । अर्कातिर कासिमिरोको हेडरलाई जोन ओब्लाकले बिफल तुल्याए ।
एट्लेटिकोले सुरुदेखि नै गोलका लागि दबाब दिएकामा १२ औ मिनेटमा सोल निगुइजले रक्षापंक्तिभन्दा निकै उफ्रिएर बुलेट हेडरमा गोल गरे ।

त्यतिमै दबाब रोकिनेवाला थिएन । राफेल भारानेले टोरेजलाई लडाएपछि पेनाल्टी दिइयो । ग्रिजम्यानले प्रहार गरेको पेनाल्टी नाभासको हातमा छुँदै जालीभित्र छिर्‍यो । १६ मिनेटभित्रको यो नाटकीय खेलबाट एट्लेटिकोको फाइनल सपनामा निकै ठूलो हौसला थियो । रियलचाहिँ जसरी पनि अवे गोल गर्नेमा थियो । त्यो उद्देश्य मध्यान्तरसम्म पूरा भएन । विस्तारै आफूलाई लयमा ल्याउने क्रममा रियलका मोड्रिकले निकै प्रभावकारी खेले । करिम बेन्जेमाले बनाएको उत्कृष्ट फुटवर्कसँगै मिलेको पासमा टोनी क्रुजलाई उत्कृष्ट सट हाने तर ओब्लाकले रोके । त्यसमै आएको रिबाउन्डमा इस्कोले गोल गरे । एट्लेटिकोले घरेलु प्रतिद्वन्द्वीलाई अप्ठेरो परिस्थितिबीच जिल्याउने प्रयास गरेको हो । ६६ औं मिनेटमा नाभासले लगातार दुई उत्कृष्ट बचाउ गरे ।
–गार्डियन

खेलकुद

एसियन युथ तथा जुनियर भारोत्तोलन नेपालमा

- कान्तिपुर संवाददाता
एसियन युथ तथा जुनियर भारोत्तोलनबारे बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइँदै । तस्बिर सौजन्य : श्याम चित्रकार

काठमाडौं– नेपाल भारोत्तोलन संघ फेरि एउटा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटेको छ । दुई वर्षअघि महाभूकम्पका कारण एसियाली प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेर पनि नेपालमा आयोजना हुन सकेको थिएन । नेपालमा हुने भनिएको सिनियर महिला/पुरुष एसियन भारोत्तोलन च्याम्पियनसिप पछि थाइल्यान्डमा सारिएको थियो ।
संघले आगामी साउन ६ देखि १४ गतेसम्म युथ तथा जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप गर्ने भएको छ । यो नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय स्तरको ठूलो स्पर्धा हुनेछ । युथतर्फ १९ औं, जुनियर महिलामा २४ औं र जुनियर पुरुषको ३१ औं संस्करणका रूपमा एसियन च्याम्पियनसिप आयोजना हुँदै छ । प्रतिस्पर्धा हुनेछ लगनखेलस्थित आर्मीको शारीरिक ट्ेरनिङ तथा प्रशिक्षण सेन्टरमा ।

महिला/पुरुष दुवैको युथ र जुनियरमा प्रतिस्पर्धा हुनेछ । १३–१७ वर्ष उमेरसमूह युथ र १५–२० वर्ष उमेरसमूह जुनियरमा वर्गीकरण गरिएको छ । प्रतियोगिताबारे बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भारोत्तलनका संघका अध्यक्ष रतन टण्डनले नेपालले एसियन लेभलको प्रतियोगिता आयोजना गर्ने स्विकृति पाउनु एउटा ठूलो अवसरका रूपमा लिएको बताउँदै यसलाई राष्ट्रको गौरव र प्रतिष्ठासँग गाँसेर आयोजना गर्न संघ लागिपर्ने बताए ।

अध्यक्ष टण्डनले प्रतियोगितामा एसियाका झन्डै ३० भन्दा बढी राष्ट्रका ३ सय ५० युवा भारोत्तोलकले भाग लिने जानकारी गराएका छन् । महिलातर्फ युथमा ८ र जुनियरमा ८ तौल समूह तथा पुरुषतर्फ पनि युथमा ८ र जुनियरमा ८ तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।संघका महासचिव पार्थ सारथी सेन गुप्तले दुई वर्षअघि अन्तिम तयारीमा पुगेर पनि सिनियर एसियाली प्रतियोगिता गर्ने अवसर गुमाउनुपरेको स्मरण गराउँदै जुयिनर आयोजनाले नेपाली भारोत्तोलनलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने अपेक्षा गरे । भारोत्तोलनले प्रतियोगिताका लागि १ करोड ७५ लाख ९६ हजारको अनुमानित बजेट रहेको जनाएको छ । त्यसमध्ये १५ प्रतिशत सहभागी खेलाडीको प्रवेश शुल्क, १५ प्रतिशत एसियाली भारोत्तोलन संघ, १५ प्रतिशत अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ, २५ प्रतिशत राष्ट्रिय खेलकुद परिषद् र ३० प्रतिशत प्रायोजनबाट उठाइने लक्ष्य रहेको अध्यक्ष टण्डनले बताए ।

साथै प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघले ३६ हजार डलरबराबरको खेल सामग्री उपलब्ध गराएको छ । त्यो आउने क्रममा रहेको जनाइयो । दुई वर्षअघि पनि सिनियरका लागि एसियन र अन्तर्राष्ट्रिय भारोत्तोलनले खेल सामग्री उपलब्ध गराएका थिए । सोही अवसरमा परिषद् सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिताको लोगो सार्वजनिक गरेका थिए । उनले एसियाली स्तरको यो प्रतियोगिता आयोजनाले नेपाली भारोत्तोलन विकासमा दूरगामी प्रभाव छाड्ने बताए ।

नेपालको तयारी
गत नोभेम्बरमा जापानमा भएको युथ तथा जुनियर च्याम्पियनसिपबाट नेपालले आयोजना अधिकार पाएको थियो । जहाँ नेपालका प्रकाश केसी र कमला श्रेष्ठले जुनियरमा प्रतिस्पर्धा गरेका थिए । एसियन जुनियरमा नेपालले सुरुआती संस्करणदेखि नै फाट्टफुट्ट सहभागिता जनाउँदै आएको हो । युथ एसियनको तेस्रो संस्करण त नेपालमै भएको थियो १९८४ मा ।

युथ विधा भने नेपालका लागि नयाँ नै छ । आफैं आयोजक भए पनि युथमा नेपालले सहभागिता जनाउन सक्ने छैन । १३–१७ वर्ष उमेरका नेपाली खेलाडी भारोत्तोलनतर्फ आकर्षित नहुुने भएकाले यसपालि सहभागिता नरहने भारोत्तोलनका मुख्य प्रशिक्षक सुनीललाल जोशीले बताए । उनका अनुसार जुनियरका लागि भने तयारी सुरु भइसकेको छ । सातौं राष्ट्रियमा देखिएका प्रतिभासहित अरुलाई समेटर झन्डै डेढ दर्जन खेलाडी क्याम्पमा राखिएको जोशीले बताए ।

खेलकुद

विजेतालाई २० लाख

प्रधानमन्त्री कप
- कान्तिपुर संवाददाता

काठमाडौं– घरेलु नेपाली क्रिकेटमा वान डेका खेल नभएको तीन वर्ष छुन लागेको स्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) आफै अग्रसर भएको छ, प्रथम प्रधानमन्त्री कप ०७४ गर्न । देशको सर्वोच्च क्रिकेट निकाय निलम्बनको स्थितिमा रहेका बेला परिषद्ले सर्वाधिक पुरस्कार राशिको वान डे प्रतियोगिता जेठ ९ देखि आयोजना गर्न लागेको हो । कुल आठ टिमको सहभागिता रहने प्रतियोगिता विजेताले २० लाख रुपैंया जित्नेछ । उपविजेता हुनेले १० लाख रुपैयाँ हात पार्नेछ ।

एक करोड रुपैयाँ हाराहारीको बजेटमा चल्ने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ ले एक लाख तथा बेस्ट ब्याटसम्यान र बलरले ५०–५० हजार रुपैयाँ पाउने छन् । यस्तै इमर्जिङ प्लेयरले २५ र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले पाँच हजार पाउने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर सुरुमा लिग चरणका खेल हुनेछन् । समूहका शीर्ष दुई स्थान हातपार्ने टिमले सेमिफाइनल यात्रा गर्नेछ । लिग चरणको प्रत्येक खेल विजेताले २५ हजार रुपैयाँ पनि पाउने छ ।

प्रतियोगिताबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले भने, ‘यो प्रतियोगितालाई हामीले ठूलो महत्त्व दिएका छौं । यसपल्ट कम समयको तयारीका कारण केही समस्या हुनसक्छ । आउने वर्षमा यसको आकार अझ ठूला हुनेछ, बजेटदेखि पुरस्कार राशिसम्म पनि । भविष्यमा यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय प्रतियोगिताको पनि स्वरूप दिने योजना छ । नेपाली क्रिकेटका लागि यो कोसेढुंगा प्रतियोगिता हुनेछ ।’

प्रतियोगिताका सहभागीमा पाँच विकास क्षेत्रसहित तीन विभागीय टिम हुनेछन् । यो आईसीसी वल्र्ड क्रिकेट लिगअन्तर्गत हङकङविरुद्ध हुने खेलका लागि छनोट चरणको रूपमा पनि रहनेछ । पत्रकार सम्मेलनका अवसरमा नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले यो प्रतियोगिता नयाँ प्रतिभाशाली खेलाडी खोजीका लागि आधार हुने पनि बताए । प्रतियोगिताको मुख्य प्रायोजक रुस्लान क्रिकेट र बैकिङ पार्टनर सिटिजन बैंक छन् । यस्तै व्यवस्थापन भने काठमाडौं क्रिकेट ट्ेरनिङ सेन्टरले सम्हाल्ने छ ।

खेलकुद

शिवराम फेरि च्याम्पियन

- कान्तिपुर संवाददाता
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप विजेता शिवराम श्रेष्ठ (बीच) । साथमा एमेच्योर विजेता टंकबहादुर कार्की (दायाँ) र उपविजेता तेन्जिङ छिरिङ ।तस्बिर : कान्तिपुर

काठमाडौं– नेपाली व्यावसाियक गल्फका सर्वाधिक सफल शिवराम श्रेष्ठले ३५ औं उपाधिको रुपमा बिहीबार सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको ट्रफी चुमेका छन् ।गोकर्ण गल्फ क्लबमा अन्तिम दिन एक अन्डर ७१ स्कोर गर्दै शिवरामले सिजनको पाँचौं उपाधि जितेका हुन् । चवन्न होलको प्रतियोगितामा उनको कुल स्कोर चार अन्डर २ सय ८४ रह्यो । कुल ६ लाख रुपैयाँ पुरस्कारको प्रतियोगितामा उनले एक लाख १० हजार हात पारे ।
बिहीबार दुई ओभर ७४ को कार्ड बनाएका सूर्यप्रसाद शर्मा समग्रमा एक ओभर २ सय ८९ सहित दोस्रोमा रहे । उनको भागमा ७० हजार रह्यो भने तेस्रो भएका सन्जय लामाले ५० हजार प्राप्त गरे । उनले दुई ओभर २ सय ९० स्कोर गरे । उनले अन्तिम चरणमा एक ओभर ७३ खेलेका थिए ।

रामे मगर र भुवन नगरकोटी समान चार ओभर २ सय ९२ सहित संयुक्त चौथो भए । दुवैले ३७ हजार ५ सय रुपैयाँ हात पारे । राजेन्द्र थापामगर सात ओभर २ सय ९५ सहित छैटौं भए । उनले ३० हजार प्राप्त गरे । जयराम श्रेष्ठ र रवि खड्का (समान ११ ओभर २ सय ९९), पशुपति शर्मा (१५ ओभर ३ सय ३) र धन थापा (१६ ओभर ३ सय ४) शीर्ष दसमा रहे । एमेच्योरतर्फ टंकबहादुर कार्की पहिलो भए । अन्तिम दिन एक ओभर ७३ खेलेका उनले कुल चार ओभर २ सय ९२ स्कोर गरे । तेन्जिङ छिरिङ सात ओभर २ सय ९५ सहित दोस्रोमा रहे ।

खेलकुद

दक्षिण एसियाली यू–१२ टिम टेनिस

- कान्तिपुर संवाददाता

काठमाडौं– आईटीएफ एसियाली यू–१२ टिम च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट स्पर्धा सोमबार सुरु हुँदै छ । प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रको सहभागिता रहने अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले बताइन् ।

आयोजक संघका महासचिव मनोहरदास मुलले पुरुष र महिलामा २–२ राष्ट्र डिसेम्बरमा काजकिस्तानमा हुने एसियाली यू–१२ टिम च्याम्पियनसिपलाई छनोट हुने प्रावधान रहेको बताए । ७ राष्ट्रबाट समान ३–३ ब्वाइज र गल्र्स खेलाडी सहभागी हुनेछन् । नेपालबाट ब्वाइजमा आर्यन गिरी, आरभसम्राट हाडा र अकी जुवेन राउत तथा गल्र्समा इशाश्री शाह, सर्भानी श्रेष्ठ र सुभाङ्गीलक्ष्मी शाहले प्रतिस्पर्धा गर्नेछन् ।

खेलकुद

आर्सनल पाँचौंस्थानमा

- रोयटर्स

लन्डन– प्रिमियर लिगको पाँचौंस्थानमा पुग्ने क्रममा आर्सनलले साउथह्याम्पटनमािथ २–० को जित हासिल गर्‍यो । अन्तिम समयमा अन्तिम चारका लागि जोड गरिरहेको आर्सनलका लागि एलेक्सिस सान्चेज र ओलिभर जिरुडले गोल गरे ।

सान्चेजले ६० औं मिनेटमा गोलको खडेरी तोडेका हुन् । अति रक्षात्मक खेलमा सान्चेज सिजनको २० औं गोल गर्न सफल भए । सात मिनेटपछि जिरुडले आफ्नो ट्रेडमार्क गोल गरेका थिए ।

साउथह्याम्पटनका लागि भने निकै निराशाजनक दिन रह्यो । उसले अघिल्ला दुई खेल गोलरहित बराबरीमा खेर फालेको थियो । आर्सनल ६६ अंकसहित म्यानचेस्टर युनाइटेडभन्दा अगाडि बढेको छ । टिम तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ३ अंकले पछाडि छ । आर्सेन वेंगरको टोलीले ३६ खेलबाट ७० अंक बटुलेको लिभरपुललाई समेत जित्न सकिने देखेको छ ।
खेलको पहिलो हाफभर साउथह्याम्पटनको जब्बर रक्षापंक्तिसामु आर्सनलको जोर चलेन ।

साउथह्याम्पटनले आर्सनल गोलरक्षक पिटर चेकलाई समेत व्यस्त राख्यो । उनले मानोलो गाविदिनी र नाथान रेडमोन्डका प्रहार बिफल पारे । तर ब्रेकपछि सान्चेजले निकै स्तरीय खेल खेले । व्यक्तिगत सीपकै बलबाट उनले गोल गरे । उनकै क्रसमा आरोन राम्सेले दिएको पासमा उनले गोल गरे ।

आर्सेन वेंगरका लागि यो सुखद क्षण थियो । म्यानचेस्टर युनाइटेडलाई २–० ले हराएलगत्तैको खेलमा उनको टोलीले उत्कृष्ट फर्मलाई निरन्तरता दिएको हो । ‘पूरै टिम गतिशील थियो र जित्ने लयमा गयो,’ उनले भने । अर्कातिर साउथह्याम्पटनका प्रशिक्षक क्लाउड पलले आफ्नो टोलीको आक्रमण धार कमजोर भएको स्वीकारे । ‘जति राम्रो खेले पनि त्यसलाई सदुपयोग गर्न सकिएन भने अर्थ रहन्न,’ उनले भने ।

Page 20
Page 24
हेल्लो शुक्रवार

सुनिशा होइन, जयमाया

साइन्स प्लस टु पढेर ह्युम्यानिटिजमा होमिएकी सुनिशा थिएटरकी जयमाया बनिन् । छोरीको यो ट्रान्फफर्मेसन हेर्न बाबुआमा पनि गाउाबाट आएका छन् ।
- देवेन्द्र भट्टराई

काठमाडौं– दोस्रो विश्वयुद्धको संहारले त्रसित भएर बर्मा भूमिबाट आ–आफ्नो थातथलो फर्किरहेको हूल निकै लामो थियो । घना जंगल, बस्ती, खोलानाला छिचोल्दै थाहै नभएको दिशातिर बाटा लाग्नेमा सुवेदार–सुवेदारनीकी १५ वर्षीया छोरी जयमाया पनि थिइन् । कोही बर्माबाट मणिपुर–असम हुँदै नेपाल घर फर्किरहेका थिए, कोही भारतको दार्जिलिङतिर लाग्नेहरू थिए ।
युद्धको त्रासदीबाट ज्यान जोगाउन यो पटक बाटा लागेका शिवजित सुवेदार आठ वर्षअघि नेपालको पूर्वी पहाड भोजपुरसम्म आएका थिए,
आफ्नी बोजुलाई भेट्न । तर, अहिले बोजु पनि स्वर्गे भइसकेकाले जाने ठाउँ कतै थिएन । ‘सबै मुलुकभन्दा साह्रै दु:ख गरेर जिउनुपर्ने त हाम्रै मुलुक रहेछ’ भन्दै सुवेदारले फेरि नेपाल नआउने निधो गरिसकेका थिए । तर, भागेर जाने कहाँ ? कुनै अत्तोपत्तो थिएन ।

बाआमाका अघिपछि गर्दै हिँडिरहेकी १५ वर्षीया जयमायाले बाटैमा आमालाई गुमाई । खोलाको फड्के तर्ने भएर भेलमा हराएका सुवेदार बाबुलाई पनि जयमायाले बाटैमा गुमाई । लगातार २२ दिन हिँडेपछि एक दिन जयमाया असम लेखापानी आइपुगी । तर, यो नयाँ ठाउँ (लेखापानी) आइपुगेकामा जयमायालाई कुनै हर्ष थिएन । किनभने साथमा आफन्त भन्नु कोही थिएन । यसरी जयमाया आफूमात्र लेखापानी आइपुगी ।
यो कथावस्तुले काठमाडौं सहरका दर्शकलाई रंगमञ्चसम्म डोर्‍याएको एक महिना भइसकेको छ । कथाकार इन्द्रबहादुर राईको कथामा नाट्यकर्मी सुनील पोखरेलले तयार पारेको नाटक ‘जयमाया आफूमात्र लेखापानी आइपुगी’ मा सबैभन्दा मन हर्ने पात्र बनेकी छिन्– जयमाया अर्थात् सुनिशा बजगाईं, वर्ष २० ।

कथाभित्रको बयानअनुसार जयमायाको उमेर १५ वर्ष मात्रै हो । सुनिशाको खिरिलो ज्यानले १५ आसपासकै झल्को दिन्छ । ‘अब त कस्तो भइसक्यो भने म आफूलाई बर्माबाट भागेर आएकी जयमायाजस्तै फिल गर्न थालेकी छु,’ सोमबार गफगाफमा भेटिएकी सुनिशाले सुनाइन्– ‘त्यस्तो कालजयी कथाकी पात्र बनेर टिक्न सकौंला भन्ने सुरुमा लागेको थिएन, अहिले भने निकै आत्मविश्वास बढेको छ ।’

झुम्का, सुनसरी घर भएकी सुनिशाले विज्ञान विषयमा दस जोड दुई पढिन् । त्यसपछि पत्रकारिता विषय लिएर ग्रयाजुएसन गर्दै गरेकी उनी हावाको एउटा झोंकाजस्तो बनेर नाट्य–रंगमञ्च दुनियाँमा रमाइरहेकी छन् जहाँ सधैंभर नामकाम देखाउन हम्मे पर्न सक्छ । ‘मैले तीन वर्षअघि काठमाडौंमै आईबी राई सरले लेखेको ‘जार : भएकै एउटा कथा’ नाटक हेरेकी थिएँ, त्यो नाटक मैले ७ पटक हेरेकी थिएँ,’ सुनिशा सम्झन्छिन्– ‘त्यसमा ठूली पात्र भएर खेल्न पाए कस्तो हुन्थ्यो भन्ने लागिरहेका बेला त्यस्तै अर्को कालजयी कथाकी पात्र जयमाया भएर खेल्न पाएकी छु । यो मेरो भाग्य हो ।’

जयमायाले हिँडेको बाटो
सुनिशाका बाबु जगन बजगाईं सुनसरीको चक्रघट्टीस्थित वसन्त ऋतु माध्यमिक विद्यालयमा प्रधानाध्यापक छन् । आमा कल्पना घरेलु काममै हराइरहेकी छन् । विज्ञानमा दस जोड दुई गरेर बीए पढ्न सहर छिरेकी छोरीले अरू कुनै जागिर खाने काम गर्ली अथवा पढाइअनुसारको बाटो समात्ली भन्ने सोचेर बसिरहेका बाआमा छोरीको रंगमञ्च दुनियाँ देखेर अचम्ममा परेका रहेछन् । ‘म नाटकको डेढ घण्टा अवधिमा सुनिशा बजगाईं होइन कि टेक्ने–समाउने ठाउँ नभएकी जयमाया नै भएकी छु,’ सुनिशा भन्छिन्– ‘आफूमा पलाएको रंगमञ्च अभिनयको यो विश्वास देखाउन गाउँबाट मैले बाबुआमालाई पनि बोलाएकी छु । यो साता उहाँहरूले पनि सुनिशा होइन, जयमाया छोरीलाई मण्डलाको मञ्चमा पाउनुहुनेछ ।’

सुनिशाले यसअघि विलियम शेक्सपियरले लेखेको र सुनील पोखरेलकै निर्देशनमा मञ्चन भएको ‘अ मिडसमर नाइट ड्रिम’ नाटकमा अभिनय गर्न पाएकी थिइन् भने स्टेज म्यानेजरका रूपमा ‘द्रौपदी’ नाटकमा काम गर्ने मौका पाएकी थिइन् । कोलकातामा देखाइएको ‘द्रौपदी’ मा कलाकार निशा शर्माको एकांकी अभिनय हेर्न पाइन्छ । रंगमञ्चको पाठशाला ‘ज्ञ’ मा पढाइरहेका बेला नयाँ नाटकको योजना र परिकल्पना गर्ने क्रममा ‘जयमाया आफूमात्र लेखापानी आइपुगी’ सँगै कुमार नगरकोटीको ‘तिम्रो मृत्युको समाचार’ कथाबारे पनि छलफल भएको रहेछ । तर, सुनिशाका अनुसार विद्यार्थीको इच्छाअनुसार जयमाया कथाको नाट्य रूपान्तरण गरिएको रहेछ । सायद, अर्को चरणमा नगरकोटीको कथाले रंगमञ्चमा ठाउँ पाउँदै छ ।

‘मलाई सुरु–सुरुमा त कसरी एक/डेढ घण्टासम्म लगातार स्टेजमा बसेर दिनहुँ उही अभिनय गर्ने होला भन्ने लागेको थियो,’ सुनिशा सम्झिन्छिन्– ‘तर बिस्तारै गर्दै जाँदा यो एउटा प्यासनजस्तै हुनेरहेछ, नशाजस्तै । त्यसमाथि निर्देशक सुनील सरले हामी कलाकारलाई प्रशस्तै ठाउँ छाडिदिनुहुन्छ । यही गर अथवा यस्तै गर भनेर कडाइ गर्नुभन्दा स्टेज अभिनयमा स्वस्फूर्त हुन सकिने उपाय सम्झाइरहनुहुन्छ ।’ सुनिशाले नाटकको ‘प्यासन’ आफूमा हुर्काए पनि यो विधालाई ढुक्कै प्रोफेसन बनाउने अथवा गरिखाने बाटो बनाउन सकिनेबारे भने उनले केही सोचेकी छैनन् । धन्य, बाबुआमाले ‘मनले खाने र आफूखुसी हुन सकिने जेजस्तो राम्रो गरे पनि हुन्छ’ भनेकाले सुनिशा जयमाया चिनारीमा पनि उत्तिकै खुसी बनिरहेकी छन् ।

रंगमञ्च जगत्को विद्यार्थी बनेपछि सहरका अधिकांश स्टेजमा लाग्ने नाटकहरू हेर्न जाने गरेको सुनिशा सुनाउँछिन् । उनले यसबीचमा धूवाँचल, माधवी, बुख्याँचा मन, लू, कोही किन बर्बाद होस्, इदमित्थम, ऊ कसको, एक बोली एक दाम, भोको घरजस्ता नाटकहरू हेरिसकेकी छन् । ‘तर नयनराज पाण्डे सरको ‘लू’ उपन्यास पढ्दा जस्तो मजा लागेको थियो, नाटकमा भने त्यस्तो आनन्द आएन,’ सुनिशाले भनिन्– ‘माधवी नाटकको स्टेज सज्जा र सरोज अर्यालको क्यारेक्टर भने निकै राम्रो लागेको थियो ।’

कतिसम्म भने सुनिशालाई ‘किताबमा पढिने एउटा कथा रंगमञ्चमा खेलिने नाटक बन्छ’ भन्नेसम्म पनि सुरुका दिनमा पत्तो थिएन । स्वभावत: सपनामयी उमेरको जोडघटाउमा सुनिशा अनेक खालका रहर गर्थिन्, सौख पाल्थिन् र, यस्तै स्टेजमा छिरेर कुनै अभिनय गर्न पाए पनि हुन्थ्यो नि भन्दै कल्पनामा डुब्ने गर्थिन् । दस जोड दुई पढेर काठमाडौं छिरेपछि रहरै–रहरमा नाट्यकर्मी सुनील पोखरेलको नाट्य पाठशाला ‘ज्ञ’ (डिस्कभर योरसेल्फ) मा उनी विद्यार्थी बनिन् । ‘ज्ञ’ पाठशालामा सुनिशाजस्तै २० जना नयाँ पुस्ताका विद्यार्थी रंगमञ्च अध्ययनमा लागेका छन् । ‘आफ्नै भित्री रहरले मलाई रंगमञ्चको स्टेजसम्म ल्याएको हो,’ सुनिशा भन्छिन्– ‘यो क्षेत्रमा म जानकार अथवा विज्ञ हुँदै होइन । बरु सुनील सर, निशा शर्माजस्ता ज्ञान बाँड्न चाहने गुरुहरूले यो बाटोमा हिँड्न हात दिइरहनुभएको छ ।’

हुन पनि, एउटा रंगमञ्च भन्नासाथै थकित–गलित चेहराका कलाकार मात्रै किन थुप्रन्छन् ? नयाँ पुस्ताका लागि यो रहरको थलो किन हुन सक्दैन ? यस्ता थुप्रै जिज्ञासाका माझ सुनिशा बजगाईं उदाएकी छन् । मानवीय संवेदनाले भरिएको ‘जयमाया आफूमात्र लेखापानी आइपुगी’ नाटकको मञ्चमा पनि जयमायाको बोलिरहने त्यति संवाद छैन, बरु बाआमासँगै पछ्याइरहने संवेदनाजन्य ‘क्षण’ हरू भने थुप्रै छन् । तैपनि नाटकमा जयमाया मुख्य पात्र बनेकी छन् । बोलेरभन्दा नबोलेरै उनले अभिनयको युद्ध यो पटकलाई जितेकी छन् ।

Page 25
हेल्लो शुक्रवार

रेकर्डको चाङमाथि बाहुबली २

- सुशील पौडेल

विश्वमा फिल्म बजार बढ्दो छ । बढ्दो व्यापारकै कारण फिल्मको विषयवस्तु समेत सिर्जनात्मक कम, बिकाउ ज्यादा हुँदै गइरहेको आरोप पनि फिल्मकर्मीले खेप्दै आएका छन् । गत साता रिलिज भएको भारतीय फिल्म ‘बाहुबली २’ भने सिर्जनात्मक हिसाबले जति चर्चा भएको छ, त्योभन्दा बढी कमाइका रेकर्ड राखेर भाग्यशाली साबित भइरहेको छ ।

एसएस राजामौली निर्देशित ‘बाहुबली २’ ले यतिबेला विश्वव्यापी रूपमा दस दिनमा एक हजार करोड भारु कमाइ गरी नयाँ रेकर्ड कायम गरेको छ । यसअघि कुनै पनि भारतीय फिल्मले यति धेरै कमाइ गर्न सकेका थिएनन् । त्यसो त ‘बाहुबली २’ ले पहिले नै विभिन्न शीर्षकमा बनेका रेकर्डलाई समेत भत्काएर नयाँ अंक स्थापित गरिदिएको छ । स्वदेशमा पनि नौ दिनको सर्वाधिक छिटो समयमा ३ सय करोड भारु कमाइ गरी नयाँ रेकर्ड राखिदियो।

प्रभास, अनुष्का शेट्टी, राणा दग्गुबाती, तमन्ना भाटिया, रम्या कृष्णन, सत्यराजलगायतको मुख्य भूमिका रहेको तेलुगु फिल्म ‘बाहुबली २’ लाई अन्य तीन भाषामा पनि डब गरी रिलिज गरिएको थियो ।अमेरिकाका ५० आइम्याक्स स्क्रिनमा रिलिज गरिएको ‘बाहुबली २’ एक सय करोड भारु कमाइ गर्ने पहिलो हिन्दी फिल्म बन्न सफल भएको छ । यसअघि उक्त रेकर्ड आमिर खान अभिनीत पछिल्लो फिल्म ‘दंगल’ का नाममा थियो । जुन फिल्मले ८० करोड भारु कमाइ गर्न सफल भएको थियो । ‘बाहुबली २’ ले कमाइमा आमिरकै दुई फिल्म ‘पीके’ र ‘दंगल’ ले बनाएका अधिकांश रेकर्डलाई भत्काएको छ । बलिउडमा अधिकांश ठूला फिल्म इद, क्रिसमस वा तिहार जस्ता ठूला चाडमा बिदा खाने गरी रिलिज गरिन्छ । यस्तोमा प्राय: सलमान खान, शाहरुख खान र आमिर खानकै हालीमुहाली चल्ने गर्छ । तर ‘बाहुबली २’ बिना बिदाको साता रिलिज भएरै पहिलो साताका हरेक दिन सोल्डआउट व्यापार गर्न सफल रह्यो । क्षेत्रीय भाषा र क्षेत्रीय कलाकार भएको ‘बाहुबली २’ को बाढीमा बलिउड फिल्म नै पनि बगाइए।

‘बाहुबली’ का दुई भागलाई चार सय ५० करोड भारुमा बनाइएको थियो । जसमा पहिलो भागले नै वल्र्डवाइड रूपमा करिब साढे ६ सय करोड भारु कमाएको थियो । पछिल्लो समय भारतीय फिल्म व्यापारको ठूलो हिस्सा बनेर उदाएको चीनमा भने ‘बाहुबली २’ रिलिज हुन बाँकी नै छ । ‘दंगल’ ले चीनमा पनि अमेरिकाकै हाराहारीमा कलेक्सन गरेको थियो र आठ सय करोड भारुको लाइफटाइम कलेक्सन गर्न सफल भएको थियो । राजामौलीको फिल्मले भने सारा रेकर्ड तोड्न दुई साता पनि कुर्नु परेन । नेपालमै पनि पहिलो साता शतप्रतिशत अकुपेन्सीसहित व्यापार गरेको यस फिल्मले दोस्रो साता पनि मल्टिप्लेक्समा सोलो प्रदर्शनी पाएको छ । यहाँका व्यापार विज्ञहरू ‘बाहुबली २’ ले नेपालबाट मात्रै १२ करोडभन्दा बढी रुपैयाँको व्यापार गर्ने दाबी गर्छन् । जुन व्यापार हालसम्म कुनै विदेशीभाषी फिल्मले गर्न सकेका छैनन् ।

दोस्रो सातामा समेत ६० प्रतिशतभन्दा बढीको अकुपेन्सीसहित दर्शक बटुलिरहेको ‘बाहुबली २’ ले दोस्रो साताको आइतबार मात्रै ३४ करोड ५० लाख भारुको कलेक्सन गर्न सफल भएको छ । जुन दोस्रो सातामा हालसम्म भारतीय फिल्मले गरेको व्यापारको उच्च आँकडा पनि हो । यतिबेला फिल्म घरेलु बक्सअफिसमा चार सय करोडको नयाँ रेकर्डतर्फ उन्मुख छ । यसका लागि ‘बाहुबली २’ लाई आमिरकै दुई फिल्म ‘पीके’ र ‘दंगल’ ले क्रमश: बनाएका लाइफटाइफ कलेक्सन ३ सय ४१ करोड र ३ सय ८७ करोड भारुलाई समेत उछिनेर जानुपर्नेछ ।राजसत्ता संघर्षका लागि दुई भाइबीचको संघर्ष र त्यसमा भाइ भारदारले खेल्ने षड्यन्त्रको माखेसाङ्लोमा उनिएको ‘बाहुबली २’ को पटकथालाई दर्शकले जति रचाएका छन्, फिल्ममा प्रयुक्त भिजुअल स्पेसल इफेक्ट्सको पनि तारिफ गरिएको छ । फेन्टासी लुक्समा ठूलो क्यानभास सिर्जना गर्न सक्ने निर्देशक राजामौलीको कल्पनाशीलतालाई भारतमा मात्र नभई विश्वभरका फिल्म समालोचकले समेत प्रशंसा गरेका छन् ।

हेल्लो शुक्रवार

बायर्नको स्तर

लगातार पाँचौं सिजन जर्मन बुन्डेस लिगामा च्याम्पियन भए पनि बायर्न म्युनिखको सिजन सार्थक भयो कि भएन ?
- राजु घिसिङ

युरोपेली फुटबलमा रियल म्याड्रिड र बार्सिलोनासँग दाँजिने टिम हो बायर्न म्युनिख । यो जर्मन क्लबले घरेलु बुन्डेस लिगामा एकछत्र राज गर्दै आएको छ र महादेशीय च्याम्पियन्स लिगमा पनि शानदार प्रदर्शन गरिरहेको छ । त्यसैले बायर्नका लागि जुनसुकै प्रतियोगितामा पनि मुख्य लक्ष्य ट्रफी चुम्ने नै हुने गरेको छ ।

यसपल्ट बायर्नले तीन खेल बाँकी छँदै बुन्डेस लिगको उपाधि कब्जा गर्‍यो । जर्मन महारथी लगातार पाँचौं सिजन घरेलु लिगमा च्याम्पियन भएको हो । च्याम्पियन भएपछि पहिलो खेलमा बायर्न डाम्र्सटाडलाई शनिबार १–० ले हरायो । अहिले बायर्नको हट–सिटमा इटालियन लिजेन्ड कार्लो एन्सेलोटी छन् । म्युनिखमा पहिलो सिजन नै ट्रफी चुमेका उनले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीतर्फ लागेका पेप ग्वार्डिओलाको स्थान लिएका हुन् ।
एक सय १७ वर्ष पुरानो क्लब बायर्न कीर्तिमान २७ औंपल्ट बुन्डेस लिगा च्याम्पियन भएको हो । उसको रेकर्ड बराबरी गर्न पनि अरूले कम्तीमा १८ पल्ट उपाधि जित्नुपर्नेछ । बायर्नपछि सर्वाधिक सफल क्लब नुरेम्बर्ग हो । नौ पल्ट च्याम्पियन रहेको उसले अहिले दोस्रो डिभिजन लिग खेलिरहेको छ । जर्मनको घरेलु फुटबलका बायर्नलाई कडा चुनौती दिइरहेको बोरुसिया डर्टमुन्डले बुन्डेस लिगाको उपाधि आठपल्ट जितेको छ । यो सिजन बायर्नलाई पछ्याएको रेडबुल लेपजिग त उसका सामु बच्चा नै मान्नुपर्छ । पहिलोपल्ट उच्च श्रेणीका लिगमा सहभागी हुँदै उसले बायर्नलाई चुनौती दिने ‘दुस्साहस’ गर्‍यो ।

स्पेनी प्रशिक्षक ग्वार्डिओलाले बायर्नमा तीन सिजन बिताएका थिए । उनले तीनै सिजन बायर्नलाई बुन्डेस लिगा र जर्मन कप च्याम्पियन बनाएका थिए । र, तीनपल्ट नै बायर्नलाई च्याम्पियन्स लिगको फाइनल पनि पुर्‍याएका थिए । तर, यो सिजन एन्सेलोटीले सम्हालेको टिमलाई जर्मन कपको सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डले हराइदियो । बायर्न घरेलु मैदान आलियन्ज एरिनामा नै डर्टमुन्ड र रियल म्याड्रिडसँग हारेको थियो ।

बर्नाबाउमा ९० मिनेटमा जित हात पारेर पनि अतिरिक्त समयमा क्रिस्टियानो रोनाल्डो हिरो बनेपछि रियलले च्याम्पियन्स लिगमा बायर्नको यात्रा क्वाटरफाइनलमा टुंग्याइदिएको थियो । त्यसको आठ दिनभित्र बायर्नले बुन्डेस लिगाको उपाधि जितेको थियो । यो सिजन एउटा मात्र उपाधिमा सीमित भएपछि बायर्नका लागि त्यति राम्रो मानिएको छैन । क्लब फुटबलको विश्वकै सर्वाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिगमा अन्तिम आठबाटै बाहिरिनु र जर्मन कपमा उपाधि जोगाउने अवसर गुमाउनुले बायर्न फ्यानलाई चिन्तित बनाएको छ ।

युभेन्ट्स, एसी मिलान, चेल्सी पीएसजी, रियल म्याड्रिडको बागडोर सम्हालिसकेका एन्सोलोटीका लागि आउने सिजन अझ गाह्रो हुन सक्छ किनभने पाँचपल्टको युरोपेली च्याम्पियन टिममा यो सिजन मुख्य योगदान ‘बूढा’ खेलाडीहरूको रह्यो । कप्तान फिलिप लहाम ३४ र डिफेन्सिभ मिडफिल्डर जाभी अलोन्सो ३५ वर्षका छन् । दुवैले यो सिजनको अन्त्यसँगै संन्यास लिने घोषणा गरिसकेका छन् । दुवै खेलाडीलाई सजिलै विस्थापित गर्ने खेलाडी टिममा छैनन् । फ्र्यांक रिबेरी ३३, आर्जेन रोबेन ३४, गोलकिपर म्यानुएल नोय ३१ वर्षमा छन् । बढ्दो उमेरसँगै रिबेरी र रोबेनको खेल पनि घट्न सक्छ ।

अप्रिलमा नोय घाइते रहँदा बायर्नले पाँच खेल गुमाएको थियो । पोलिस फरवार्ड रोबर्ट लेवन्डोब्स्कीले पनि वार्षिक १ करोड ६३ लाख अमेरिकी डलर तलबलाई न्याय गरे । उनले बुन्डेस लिगामा यो सिजनकै सर्वाधिक २८ गोल गरेका छन् । डर्टमुन्डका पियरे–एमरिक अउबमेयाङले पनि उति नै गोल गरेका छन् । लेवन्डोब्स्कीले सबै किसिमका प्रतियोगितामा यो सिजन ४१ गोल गरेका छन् ।

अर्तुरो भिदाल, जेरोमे बोएटेङ, डेविड अलाबाको प्रदर्शन पनि उच्चस्तरको रह्यो । युवा खेलाडीहरू जोसुआ किमिच, किङ्सले कोम्यान, रेनाटो सान्चेजले भने अपेक्षाकृत राम्रो खेल देखाउन सकेनन् । उनीहरूसँगै जाभी मार्टिनेज, थियागो अल्कान्टारा, डगलस कोस्टा, राफिन्हमा बायर्नको सफलता निर्भर हुनेछ । एन्सोलिटीलाई कम्तीमा ग्वार्डिओलाको सफलता (डोमेस्टिक डबल) दिलाउने चुनौती छ । त्यसपछि मात्र उनीसँग जुप हेन्केसको सफलता दोहोर्‍याउने अपेक्षा गर्न सकिन्छ ।

हेल्लो शुक्रवार

साथीको सुइट

- सुरज कुँवर

अहिलेको ७ नम्बर प्रदेश अर्थात् उहिलेको सुदूरपश्चिमको प्रशासकीय मुकाम दिपायल भए पनि धनगढीले सधंै बाजी मारी नै रह्यो । मोहना नदी छेउमा बसेको यो सहर भलै महाकाली नदी छेवैको महेन्द्रनगर जस्तो टाउन प्लानिङ भएको सहर होइन । तर, धनगढी अहिले पनि आर्थिक, शैक्षिक सुविधालगायतमा अगाडि नै छ ।

केही दशकअघि धनगढीमा बास बस्नुपरे राम्रो होटल थिएनन् । एलएन चोक र बसपार्कमा घरबेटीले घरमा चलाएका होटलमा बस्नुपथ्र्यो । विद्या होटलको आगमनपछि जगदम्बा, साथी, डिभोटी, रुबस हुँदै हालै फ्लोरासम्म आइपुग्दा धनगढीमा करोडौं लगानीमा स्तरीय होटल खुलेका छन् ।

यहाँको आतिथ्य, मेनु, सेवा पनि गुणस्तरतर्फ उन्मुख हुँदै गइरहेको देखिन्छ । दशकअघि १ करोड लगानीबाट सुरु भएको साथी होटलले सुइट नै राखेको छ । यसका तीन जना लगानीकर्तामध्येका सञ्जयकुमार चौधरीका अनुसार, प्रेसिडेन्टल सुइट र जुनियर गरी दुइटा सुइट राखिएका छन् ।
‘अमेरिकन राजदूतदेखि थुप्रै नेपाली भूतपूर्व एवं बहालवाला प्रधानमन्त्रीले यहाँको सुइटको अनुभव लिइसक्नुभएको छ,’ साथीका प्रबन्ध निर्देशक चौधरीले भने । साथीले सुइटका साथै मिनी क्यासिनो, स्पा पनि राखेको छ । साथीको एम्बिएन्स हेर्दा होटल नभई रिसोर्ट जस्तो लाग्छ । दशकअघि सञ्चालनमा ल्याइएको साथीको अहिलेको मार्केट भ्यालु २०/२२ करोड हाराहारी पुगेको बताउँदै चौधरीले यसलाई चाँडै चारतारेमा अपग्रेड गर्न लागेको सुनाए ।

सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा बंैकेट हल नभएका कारण केही वर्षअघिसम्म सुदूरपश्चिमसँग सरोकार राख्ने कार्यक्रम नेपालगन्ज हुन्थे । तर, अहिले त्यो प्रचलन टुटेको छ ।अहिले धनगढीमा होटलमा लगानी मात्रै नभई वेटर, पोसाक, सेफ, मेनुमा व्यवसायीहरूले ध्यान केन्द्रित गरेका छन् । जस्तो साथीले गरेर देखाएको छ । ४० वटा कोठा भएको साथीले सामान्य कोठादेखि सुइटसम्म गरेको परिवर्तनले पर्यटकलाई पनि तानेको देखिन्छ ।

Page 26
हेल्लो शुक्रवार

टीभी बन्ने होडबाजी

टेलिभिजनमा जस्तै शृंखलाबद्ध कार्यक्रम निर्माण गर्ने फेसबुक र युट्युबको घोषणा र २४ सै घण्टा प्रत्यक्ष भिडियो प्रसारण गर्ने ट्वीटरको योजना सार्वजनिक भएपछि यी कम्पनीहरु आफूलाई टीभीको विकल्पका रुपमा अघि ल्याउन तल्लीन रहेको छनक मिल्छ ।
- हेलो शुक्रबार

चल्तीका सोसल मिडिया कम्पनीले आफ्नो माध्यमबाट प्रत्यक्ष भिडियो प्रसारणको सुविधा दिन थालेको धेरै भइसकेको छ । यसमा युट्युब र फेसबुक अग्रपंक्तिमा छन् । अब सोसल मिडिया कम्पनीको ध्याउन्न लाइभ भिडियोमा मात्रै छैन, उनीहरू टीभीको विकल्प बन्न तम्तयार अवस्थामा छन् । पछिल्ला केही महिनायता उनीहरूले सार्वजनिक गरेको योजनाअनुसार युट्युब, फेसबुक र ट्वीटर अब भिडियो कन्टेन्टभन्दा माथि उठेर टीभीको जस्तै शृंखलामा आधारित कार्यक्रमहरू प्रसारण गर्न चाहन्छन् ।

यो होडबाजीमा युट्युब सबैभन्दा अगाडि दौडिएको छ । यो वर्षको सुरुवातमै युट्युबले प्रयोगकर्ताले एकभन्दा धेरै डिभाइसमा टीभी शो हेर्न मिल्ने योजना सार्वजनिक गरिसकेको छ र ऊ अहिले आफ्नो योजना अमेरिकी केही सहरमा कार्यान्वयन गर्ने चरणमा छ ।अप्रिलको अन्तिम साता ट्वीटरले पनि सातै दिन र २४ सै घण्टा टेलिभिजनजस्तै कार्यक्रम प्रसारण गर्ने आफ्नो योजना सार्वजनिक गरिसकेको छ । ट्वीटरका सीओओ (चिफ अपरेसन्स अफी) एन्टोनी नोटोलाई उद्धृत गर्दै बजफिडले उल्लेख गरेअनुसार उसले आफ्नो एप र डेस्कटप दुवै भर्सनमा यस्तो शो उपलब्ध गराउन चाहेको छ । नोटोले भनेका छन्, ‘यसलाई ट्वीटर टीभी भन्नुहोस् वा ट्वीटर नेटवर्क, हामी यो योजना कार्यान्वयनमा जाँदैनौं ।’

ट्वीटरले यसअघि पनि केही अमेरिकी आन्तरिक खेलकुद लाइभ स्ट्रिमिङको सफल परीक्षण गरिसकेको छ ।यी दुवै कम्पनीको यस्तो योजनाको चर्चा भइरहेका बेला फेसबुकले टीभीको विकल्पकै रूपमा आफूलाई प्रस्तुत गर्न गरेको तयारीको खबर सार्वजनिक भएको छ । बिजनेस इन्साइडरले सम्बन्धित व्यक्तिहरूलाई उद्धृत गर्दै लेखेको समाचारअनुसार फेसबुकले यही वर्षको जुनको मध्यतिरबाट आफैंले तयार गर्ने गरी दुई दर्जन कार्यक्रम उत्पादन गरिरहेको छ । ती कार्यक्रमहरू टेलिभिजनमा प्रस्तुत हुने जस्तै शृंखलात्मक हुनेछन् ।फेसबुकको न्युजफिडमा राखिएका छोटा भिडियो अन्य सोसल मिडियाको तुलनामा प्रभावकारी हुँदै गएका छन् । फेसबुक आफैंले उत्पादन गरी प्रसारण गर्ने टेलिभिजनकै जस्ता कार्यक्रम लोकप्रिय हुन्छन् भन्ने ग्यारेन्टी भने छैन । तर, फेसबुकको यो कदमले भिडियो सामग्रीमा उसको प्रतिद्वन्द्वी युट्युबलाई टक्कर दिनेछ ।
यसअघि नै चर्चित टेलिभिजन कार्यक्रमहरू आफ्नो प्लेटफर्मबाट प्रसारण गर्ने गरी फेसबुकले टेलिभिजन कम्पनीहरूसँग छलफल गरेको थियो ।

उक्त योजनामा सफल नभएपछि कम्पनीले नयाँ योजना अघि सारेको हो । फेसबुक मालिक मार्क जुकरवर्गले फेसबुक पेजलाई नै भिडियो सामग्रीका लागि उपयुक्त स्थान बनाउने र यसलाई टीभीको विकल्प बनाउने आफ्नो उद्देश्य रहेको सार्वजनिक घोषणा गरिसकेका छन् ।
यसै उद्देश्यलाई पूरा गर्न फेसबुकले हरेक प्रोफाइल र पेजमा छुट्टै भिडियो ट्याब बनाएर सफ कार्यान्वयन गरिसकेको छ । र, उसले न्युजलिंकभन्दा धेरै भिडियो सामग्री धेरैभन्दा धेरै प्रयोगकर्तासमक्ष पुर्‍याइरहेको छ । गत डिसेम्बरमा सार्वजनिक भएको तथ्यांकअनुसार फेसबुकमा दैनिक एक अर्ब घण्टा बराबरको भिडियो हेरिन्छ ।

दुई साताअघि करिब दुई अर्ब मासिक प्रयोगकर्ता पुगेको तथ्यांक सार्वजनिक गरेको फेसबुकले आफ्नो भिडियो सामग्री लोकप्रिय बनाउन गाह्रो नहुन पनि सक्छ । तर, उसले अन्य उत्पादकको भिडियो सामग्रीको तुलनामा आफ्नो भिडियो सामग्रीलाई कति प्राथमिकतामा राख्छ यसले उसको तटस्थतासमेत निर्धारण हुन्छ ।

यही वर्षको फेब्रुअरीमा युट्युबले करिब दुई दर्जन अमेरिकी च्यानलका कार्यक्रमहरू प्रसारण गर्ने योजना सार्वजनिक गरेको थियो जसअनुसार उसले प्रयोगकर्ताबापत मासिक ३५ डलर शुल्क उठाउने छ । यो योजना यही वर्ष कार्यान्वयन गर्ने युट्युबको तयारी छ । प्रयोगकर्ताले ३५ डलर तिरेमा आधा दर्जन डिभाइसमा युट्युबबाटै लाइभ र रेकर्ड गरिएका कार्यक्रमहरू हेर्न पाउने छन् ।योबाहेक अघिल्लो साता भएको न्युफ्रन्ट कन्फ्रेन्समा युट्युबले आफैंले लगानी गरी कार्यक्रम उत्पादन गरेर युट्युबमा नि:शुल्क हेर्न मिल्ने गरी राख्ने घोषणा गरेको थियो । यस्तो भिडियोमा विज्ञापन राखिने र प्रयोगकर्तालाई नि:शुल्क हेर्न दिने कम्पनीको योजना छ । यसले गर्दा ठूला विज्ञापनदातालाई आकर्षित गर्न सकिने योजना युट्युबको छ । कार्यक्रम निर्माणका लागि युट्युबले दुई जना कमेडियन स्टारहरूसँग सम्झौता गरिसकेको छ ।
–एजेन्सीको सहयोगमा

हेल्लो शुक्रवार

ह्वाट्सएपमा पिन फिचर

हेलो टेक

म्यासेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताले आफूले चाहेको फिचर पिन गरेर माथि राख्ने फिचर सुरु गर्ने भएको छ । एपले अहिले एन्ड्रोइडको बेटा भर्सनमा यो फिचर परीक्षण गरिरहेको छ । अबको केही सातामै यो एन्ड्रोइड र आईओएस डिभाइसमा एप प्रयोग गर्नेहरूका लागि सुरु हुनेछ ।
प्रयोगकर्ताले व्यक्तिगत र ग्रुप दुवै च्याटलाई पिन गर्न सक्नेछन् र पिन गर्दा आफूले चाहेको सिम्बोल प्रयोग गर्ने सुविधा हुनेछ । पिन गरेको च्याट थ्रेडको सबैभन्दा माथि हुनेछ ।

यसै साता एपको प्रयोगकर्ता एक अर्ब २० करोड पुगेको रिपोर्ट सार्वजनिक भएको थियो । ह्वाट्सएपले सुरु गरेको स्न्यापच्याटजस्तै स्टोरी फिचरका दैनिक प्रयोगकर्तासमेत डेढ करोड पुगेको कम्पनीले जनाएको छ । ह्वाट्सएपको प्रयोगकर्ता फेसबुक म्यासेन्जरकै जति छन् ।

हेल्लो शुक्रवार

फेसबुक सर्चमा अर्को फिचर

हेलो टेक

फेसबुकले आफ्नो सर्चमा अर्को फिचर थप्ने भएको छ । उसको फिचर ट्वीटरको ट्रेन्डिङ फिचरजस्तो हुनेछ । प्रयोगकर्ताले फेसबुकको सर्च बारमा कुनै विषय वा शब्द सर्च गर्दा त्यो विषयमा भइरहेको बहसको लाइभ अपडेट र उक्त विषयमा बहस गरिरहेका मानिसको संख्या देखाउनेछ ।

यो सर्चको सबैभन्दा अग्र भागमा देखिनेछ । यसको नाम लेटेस्ट कन्भर्सेसन्स राखिएको छ । कुनै विषयमा संसारभरका कति मानिसले स्टाटस लेखिरहेका छन् भन्ने जानकारीले उक्त विषयको महत्त्व र प्रभावकारिताबारे प्रयोगकर्तालाई थाहा हुने फेसबुकको दाबी छ ।

प्रयोगकर्ताको हिसाबले फेसबुकभन्दा निकै पछाडि रहे पनि ट्वीटरको ट्रेन्डिङ फिचर निकै लोकप्रिय छ । संसारभरका ट्वीटर प्रयोगकर्ता कुनै विषयमा छलफल गर्दा सम्बन्धित ह्यासट्याग राख्ने गर्छन् ।

हेल्लो शुक्रवार

वायरलेस चार्ज गर्ने राउटर

हेलो टेक

अब आउने एप्पलको आइफोन, आइप्याड र स्मार्ट वाच तारबिनै चार्ज हुने बन्न सक्छन् । अमेरिकी सरकारी निकायले यसै साता सार्वजनिक गरेको एक तथ्यले एप्पलले तारबिनै डिभाइस चार्ज गर्न मिल्ने राउटर बनाउन अनुमति पाएको देखाइएको छ । एप्पलले दुई वर्ष अघि यस्तो राउटरको प्याटेन्ट राइटका लागि अनुमति मागेको थियो ।एप्पलले अब सार्वजनिक गर्ने
आफ्नो आइफोन एटमा ताररहित चार्ज गर्ने सुविधा हुने हल्लाकाबीच यस्तो तथ्य बाहिरिएको हो । तर, यस्तो राउटर बनाउन अनुमति पाए पनि यसको प्रगति कति भयो भन्ने विवरण सार्वजनिक भइसकेको छैन ।

प्याटेन्ट राइटका लागि दिइएको निवेदनमा उल्लेख गरिएअनुसार यस्तो राउटरले वरपर रहेको डिभाइस चार्ज गर्नेबाहेक वाईफाई सिग्नल पनि फाल्नेछ।
अघिल्लो महिना सार्वजनिक भएको सामसुङको ग्यालेक्सी एस एट तारबिना चार्ज गर्न मिल्ने सुविधासहितको छ । त्यसैले एप्पलले आगामी आइफोनमा यस्तो सुविधा अनिवार्य रूपमा राख्ने धेरैको अनुमान छ ।

हेल्लो शुक्रवार

पृथ्वीदेखि अन्तरिक्षसम्म नासा स्पेस एप्स च्यालेन्ज

- हेलो शुक्रबार

६९ देशको १ सय ७ सहर । अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले हरेक वर्ष आयोजना गर्ने दुईदिने ह्याकाथनमा सहभागी देश र सहरको संख्यामा काठमाडौं पनि ५ वर्षयता छुटेको छैन । अर्थ (पृथ्वी) लाई मुख्य थिम राखिएको यो वर्षको ह्याकाथनमा काठमाडौंमा १८ टोली समावेश भएका थिए ।

ह्याकथनमा सहभागी हुने टिमलाई थिमअन्तर्गतका विभिन्न विषयमा च्यालेन्ज दिने गरिन्छ । यो वर्ष काठमाडौंमा सहभागीमध्ये १० टिमलाई ग्लोबल च्यालेन्ज र आठ टिमलाई लोकल च्यालेन्ज दिइएको थियो । सहभागीलाई दिइएको ग्लोबल च्यालेन्ज पृथ्वी, अन्तरिक्षका विषयमा केन्द्रित थियो भने लोकल च्यालेन्ज स्थानीयस्तरका समस्यामा केन्द्रित थिए । यीमध्ये अधिकांश विपद्को पूर्वजानकारी दिने सिस्टम बनाउने खालका थिए ।
सहभागी टिममध्ये लोकल च्यालेन्ज स्विकारेको रिसर्च एसोसिएसन फर इन्टर्‍याक्टिभ टेक्नोलोजी (रेट) काठमाडौं ह्याकाथनमा उत्कृष्ट ठहरिएको छ । लोकल च्यालेन्जअन्तर्गत उसले खडेरी पूर्वानुमान गरेर समाधानको उपाय बनाउने चुनौती पाएको थियो ।

दिनेश न्यौपाने, दीपक निरौला, बेसप्रकाश दनुवार र सविन प्रधानाङ्गको टोलीले बनाएको माटोमा पानीको मात्रा नाप्ने रोबोटिक्स सिस्टम काठमाडौं
ह्याकाथनमा उत्कृष्ट ठहरिएको हो । उनीहरूले दुईदिने अवधिमा यसको प्रोटोटाइम सिस्टम बनाएका थिए ।‘रोबोटिक्स सिस्टमले जमिनमा पानीको मात्रा नापेर पानी कम भए सिँचाइका लागि मोबाइलबाटै निर्देशन दिन सकिन्छ,’ टिम सदस्य दिनेश न्यौपानेले भने । आफ्नो टोलीले यसअघि अन्य रोबोटिक्स सिस्टम बनाइसकेको उनले बताए ।ग्लोबल च्यालेन्ज स्विकारेको सुदीप घिमिरे र वर्षा लामिछानेको टोली ह्याकाथनको फस्ट रनरअप ठहरियो । भर्चुअल स्पेस एक्स्प्लोरेसन नाम दिइएको उनीहरूको समूहले स्याटेलाइटबाट पृथ्वीलाई भर्चुअल्ली हेर्न मिल्ने एप्लिकेसन बनाएको थियो । उपलब्ध भएसम्मका फोटो र जानकारी समावेश गरी यस्तो एप्लिकेसन बनाएको टोली सदस्य सुदीप घिमिरेले जानकारी दिए ।
‘जोकोही अन्तरिक्षमा जान सक्दैनन्, कुनै स्याटेलाइटले दिने जानकारीको आधारमा सामान्य मानिस, विद्यार्थी, वैज्ञानिक जोकोहीलाई भर्चुअल्ली अन्तरिक्षको यात्रा गराउनु यो एप्लिकेसनको उद्देश्य हो,’ घिमिरेले भने, ‘एक्वा नामक स्याटेलाइटबाट देखिने अन्तरिक्ष र पृथ्वीको दृश्यलाई एप्लिकेसनमा समावेश गरेका छौं ।’

कुनै स्याटेलाइटले संकलन गर्ने प्रत्यक्ष डाटामा पहुँच भए त्यसलाई एप्लिकेसनमा सोहीअनुसार समावेश गर्न मिल्ने घिमिरेले बताए । ‘यसले मानिसलाई स्याटेलाइट, यसको उपकरण, अन्तरिक्ष, अन्तरिक्षबाट देखिने पृथ्वीका बारेमा जानकारी दिन्छ,’ उनी भन्छन् । उनको प्रोजेक्ट काठमाडौं ह्याकाथनको फस्ट रनरअपसहित ग्लोबल नोमिनी भएको छ ।काठमाडौंबाट ग्लोबल नोमिनीमा टिम इन्नोभेटर पनि समावेश भएको छ । टिम इन्नोभेटर काठमाडौं ह्याकाथनमा सेकेन्ड रनरअप भएको छ । ह्वाट्स फर डिनर नाम दिइएको ग्लोबल च्यालेन्ज स्विकारेको यो टोलीले मोबाइल एप बनाएको छ । इन्जिनियरिङका चार विद्यार्थी मिलेर बनेको समूहमा अस्मिता तुलाधर, सुष्मा गिरी, इरिना स्थापित र रुमी राजभण्डारी सदस्य थिए।
‘खाना नपाएर कति मानिस भोकै हुन्छन् । सहरमा भएका होटल र रेस्टुरेन्टमा दिनहुँ खानयोग्य खानेकुराहरू खेर गइरहेका हुन्छन्,’ आफ्नो
प्रोजेक्टका बारेमा इरिना स्थापित भन्छिन्, ‘खानयोग्य खानेकुरा छन् भने हाम्रो एपमार्फत जानकारी संकलन गर्न सकिन्छ ।’ उनीहरूले प्रतिस्पर्धाका लागि एन्ड्रोइडमा चल्ने एप बनाएका थिए ।

उनीहरूले एपको नाम ‘फुड साइकल’ राखेका छन् । खाना बढी भएको र अभाव भएको जानकारी संकलन गरी त्यसको ग्याप पूरा गर्नु एपको उद्देश्य हो । ग्लोबल नोमिनी बनेका दुवै टोलीको प्रोजेक्ट आइडिया विश्वभरका प्रतिस्पर्धीहरूसँग उत्कृष्ट ठहरिए टोलीले नासाले गर्ने अन्तर्राष्ट्रिय इभेन्टमा सहभागिताको अवसर पाउने छन् ।यो वर्षको काठमाडौंमा भएको स्पेस एप्स च्यालेन्जसको संयोजन गरेको संस्था रोबोटिक्स एसोसिएसन नेपालका अध्यक्ष विकास गुरुङ उत्कृष्ट ठहरिएका आइडियाहरूलाई कार्यान्वयन गर्न अन्य संघसंस्थाले चासो देखाएको बताउँछन् । ‘स्थानीयस्तरको समस्या समाधानमा सहयोगी हुने एप्लिकेसनलाई कार्यान्वयनमा लैजाने तयारीमा छौं,’ उनले भने । स्पेस एप्स च्यालेन्जस इसिमोड र मेर्सीकप्र्सको आयोजनामा भएको थियो ।

Page 27
हेल्लो शुक्रवार

पोयट्री पर्फमर

- गोकर्ण गौतम

नलाई कविता कृति विमोचन हो तर दर्शकको हुलिया, चेहरा अनि उत्साह हेर्दा लाग्थ्यो, कुनै रकस्टारको कन्सर्ट हुँदैछ । गत वैशाख १८ गते कमलादीस्थित प्रज्ञा भवनको डबलीमा सम्पन्न नवराज पराजुलीको पहिलो कविता संग्रह सगरमाथाको गहिराइको विमोचनको प्रसंग हो यो । डबलीभर त्यस्ता अनुहारको बाहुल्य थियो, जो पहिलो पटक कुनै कृतिको विमोचनमा प्रत्यक्ष सरिक हुँदै थिए ।

किताबमा अटोग्राफ लिन हत्तारिएकी गोल्फुटारकी सुनीता सिवाकोटी, १९, भन्दैथिइन्, ‘हामी उहाँ (नवराज) को पाठक हैन, फ्यान हौं ।’ सुनीताको यही उत्साहबाट अनुमान लगाउन सकिन्छ, कुन उमेर समूह र मनोविज्ञानका दर्शकले डबली भरिएको थियो । त्यसो त त्यहाँ वरिष्ठ रंगकर्मी अशेष मल्ल, मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेदेखि फिल्म निर्देशक मनोज पण्डितसम्म उपस्थित थिए तर बाहुल्यता तीनै नवीन र कौतुहल मुहारको ।   कार्यक्रमका सञ्चालक तथा कृति प्रकाशक अजित बरालले ‘नेपाली कविताको नयाँ सेन्सेसन’ भनेपछि लेखनसँगै कविता पर्फमबाट लोकप्रियताको शिखर चुमिरहेका नवराज मञ्चमा उक्लिए अनि बाँसुरीको धुनमा पोखिए ।
म छुजस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु,
मर्छुजस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु,

मैले आफूलाई सम्झेको दिन
तिमीलाई सम्झिन्छु,
आफूलाई बिर्सिएको दिन
तिमीलाई सम्झन्छु,

आमाले छोरालाई लेखेको ‘हेब्बी बड्ड’ शीर्षकको यो कविता उनले गत वर्ष पोखरामा सम्पन्न साहित्य महोत्सवमा सुनाएका थिए, जसको भिडियो फेसबुकमा २ दिनमा तीन लाखभन्दा बढी पटक हेरिएको थियो भने डबलीमा प्रत्यक्ष सुन्न पाउँदा प्रत्येक हरफमा तालीको वर्षा अनि हुटिङ हुने भइहाल्यो । हरेक कविताले ‘वान्स मोर’ पाइरहेको थियो ।  

हामीकहाँ एउटा मान्यता, एक त टिन एजर र युवा पुस्ताले नेपाली साहित्य पढ्दैनन् । पढिहाले भने पनि कविता उनीहरूको रोजाइमा पर्दै–पर्दैन । र, यो मान्यता मात्र होइन, यसमा अधिक सत्यता छ । तर नवराजचाहिँ कवितालाई हेला गर्ने भनेर चिनिएको यही समूहमाझ प्रिय भइरहेका छन् । जसरी सुविन भट्टराईले उपन्यासमा तन्नेरीलाई ताने, कवितामा नवराजले आकर्षित गरिरहेका छन् । यसमा ‘प्लस पोइन्ट’ चाहिँ, उनका कविता गहन पाठक र साहित्यका नियमित अध्येताले पनि त्यतिकै रुचाइरहेका छन् । जस्तो, विमोचन सकिनासाथ रंगकर्मी मल्ल हत्तारिँदै मञ्चमा पुगे, दुई हातले नवराजको टाउको समाउँदै निधारमा चुम्बन गरे । उनी कति उत्साही थिए भने चस्मा खसेर फुटेको पत्तै पाएनन् । उता, त्यतिबेलासम्म किताब किन्न तन्नेरीको लामो लाइन लागिसकेको थियो ।

‘पुस्तक बजारमा आउनुभन्दा अगाडि पहिलो पटक तपाईंकै कविता पढें/सुनें भन्ने म्यासेज आउँथ्यो,’ सामाजिक सञ्जाल र युट्युबमा समेत हिट यी कविले सुनाए, ‘आजकल पहिलो पटक कविताको किताब किनेरै पढ्दै छु भन्ने आशयका प्रतिक्रिया पाइरहेको छु ।’ तर धेरैलाई पत्यार नलाग्ने यथार्थ के हो भने सगरमाथाको गहिराइ बजारमा आउनु अगाडि उनका जम्माजम्मी आठ थान कविता पत्रपत्रिकामा प्रकाशित भएका थिए । आखिर, उनले कविता लेख्न थालेकै पाँच वर्ष त बित्दैछ ।

यति छोटो समयमा यति ठूलो ‘क्रेज’ १ कारण के होला ? कविता पर्फम गर्न आकर्षक पारिश्रमिक लिएरै देशका विभिन्न सहर पुगेका नवराज भन्छन्, ‘कुनै विषय वा पात्रले हृदयमा अति छोएपछि मात्र कवितामार्फत रिलिज गर्छु, सकेसम्म सरल शब्द र मिठास शैलीमा । त्यसैले अरूले छिट्टै आत्मसात् गरेको हुनुपर्छ ।’ हुन पनि हो, उनका कवितामा कोरा कल्पना र खोक्रो दर्शनभन्दा जीवन र संवेदना हुन्छ । जस्तो, तीन वर्ष अगाडि उनले कान्तिपुर दैनिकमा एउटा समाचार पढे, अरबमा पाँच–छ वर्षदेखि कोमामा रहेका नेपाली दाजुभाइको । जसको परिवारसँग न नेपालमा फर्काएर ल्याउने आर्थिक हैसियत छ, न नेपाल ल्याएपछि बाँच्ने कुनै सम्भावना नै । त्यसलगत्तै एक जना उनको दाइ पर्नेको अरबमा ‘नेचुरल डेथ’ भयो । पशुपति आर्यघाटमा बाकसबाट लास झिक्नासाथ छोराको खुट्टामा ढोक्दै पागलजस्तै बरबराएका बुबाको साक्षी हुनुपर्‍यो उनी । यी दुई घटनाले धेरै दिन ‘डिस्टर्ब’ भए । त्यसकै प्रतिफल थियो, कविता सगरमाथाको गहिराइ । उनले लेखेको यो पहिलो पूर्ण कविता कान्तिपुर कोसेलीमा प्रकाशित हुनासाथ साहित्यवृत्तमात्र होइन, जनमानसमै एक्कासि हिट भए । फेसबुकमा जम्माजम्मी ३ सय साथी थिए, एक सातामै पाँच हजारभन्दा बढी फ्रेन्ड रिक्वेस्ट आयो । उनले भनेकै छन्, ‘यी कविता, मैले लेखेका हैनन । मद्वारा लेखिएका हुन् ।’

हामीकहाँ एकखालको ‘भ्रम’ छ कि जति घुमाएर लेख्यो, कविता त्यति अब्बल । कवि त्यति नै बुद्धिमानी । जसले गर्दा आममानिस, त्यसमाथि तन्नेरीका बीच कविता प्रिय हुन सकेन । पञ्चायती व्यवस्थामा घुमाएर भन्नु बाध्यता जस्तै थियो । तर प्रजातन्त्र पुनर्बहालीपछि दिनेश अधिकारी, श्रवण मुकारुङ, विप्लव ढकाल, मनु मञ्जिलहरूले सरल शब्दबाट गहिरो कुरा भन्न थाले । ०६२/६३ को दोस्रो जनआन्दोलनपश्चात् यही शैलीलाई विनोदविक्रम केसी, रावत, स्वनिल स्मृतिहरूले अझ व्यापक बनाए । नवराजको कविता यही अभियानको नयाँ आयामका रूपमा स्थापित भइरहेको छ । भन्छन्, ‘म पनि सकेसम्म सामान्य भाषामा असामान्य कुरा भन्न खोज्छु । सतही रूपमा सुन्दर पनि होस् अनि भित्रभित्रै विभिन्न लेयरहरू पनि होस् ।’  

नवराज कसरी कविता लेखनमा तानिए भन्ने प्रसंग आफैंमा रोचक छ । झापाको जलथलबाट स्नातक गरेपछि मास्टर्स गर्न काठमाडौं आए । झापामा हुँदा गजल लेख्थे । कवितातिर रसै थिएन । कोर्सबाहेकका नेपाली कविता पढेका पनि थिएनन् । २०६८ सालमा गुरुकुलमा मनु मञ्जिलको एकल कविता वाचन भएको थियो, संयोगले त्यहाँ पुगे उनी । ‘तबसम्म गजल लेखिरहें, जबसम्म मनु मञ्जिललाई सुनेको थिइनँ,’ मनु मञ्जिलको कविता र वाचनशैलीबाट मन्त्रमुग्ध भएका यी कवि भन्छन्, ‘त्यो एक घण्टा मेरा लागि स्वर्णीम थियो, ध्यान–तपस्या गरेजस्तै ।’ खासमा त्यहीँबाट उनीभित्रको कवित्वको अध्याय सुरु भयो ।

नवराजको कविता जति सरल, सुन्दर र शक्तिशाली छ, वाचन त्यतिकै बुलन्द । उनी ‘कविता सुनाउने’ भन्दैनन्, ‘कविता पर्फम’ गर्ने भन्छन् । सामाजिक सञ्जालमा हटकेक बन्नुको महत्त्वपूर्ण कारण यही शैली पनि हो । लामा–लामा कविता नहेरी, त्यो पनि बडो भावमा डुबेर सुनाउन सक्नु उनको खासियत हो । उनलाई लाग्छ, पश्चिमी मुलुकको आधुनिक कवितामा कवितातत्त्व कम हुन्छ, पर्फमेन्सलाई प्राथमिकता दिइन्छ । यता, पूर्वमा चाहिँ लेख्य कविता धनी तर पर्फमेन्स पाटो कमजोर । अल नेपाल पोयट्री स्ल्याम–२०१४ का विजेता नवराज भन्छन्, ‘अनि मैलेचाहिँ पश्चिम र पूर्वको सशक्त पक्ष मिसाएर बीचको बाटो रोजेको छु । त्यसैले म आफूलाई ‘पोयट्री पर्फमर’ भन्न रुचाउँछु ।’ उनको यो पर्फमिङ पावर अझ आकर्षक हुने पक्का छ किनभने थिएटरमा प्रत्यक्ष जोडिएका छन् । दुई महिना अगाडि पाकिस्तानमा हेम्लेट नाटक देखाएर फर्किए । अर्को महिना मालिनी देखाउन युरोप जाँदैछन् । त्यस्तै, यूके र अस्ट्रेलियाबाट पोयट्री पर्फमका लागि प्रस्ताव आइरहेको छ ।

मौनमौजी छन् यी कवि । कहिले दुई वर्षमा जम्माजम्मी दुई कविता लेख्छन्, कहिले दुई महिनामा १९ वटा । किनभने कविता उनको वशको बात होइन । हृदयको अन्तरकुन्तरबाट उर्लिनुपर्छ । सायद त्यही भएर होला, अरूले पनि उनको कवितालाई हृदयबाटै प्रेम गर्छन् । जस्तै, च्याउ शीर्षक कविताका यी पंक्तिहरू :
केही छैन मसँग त्यस्तो
जसलाई हेरेर कसैले वाह गर्न सकोस्
र कोही रहेनछ यहाँ यस्तो
जो छातीको उचाइ
र कम्मरको गोलाइ नहेरी
विवाह गर्न सकोस् ।