तयारी पूरा
- मौन अवधि सुरु
- परिचयपत्र वितरण धमाधम
काठमाडौं– स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु हुन दुई दिन बाँकी रहँदा निर्वाचन आयोगले खटाएका कर्मचारी मतपेटिका लिएर मतदाताको घर नजिक पुगिसकेका छन् । आयोगले खटाएका कर्मचारीले गाउँ पुगेर मतदानस्थलको घेराबेरा, स्थानीयसँग छलफल, मतदाता परिचयपत्र वितरणलगायत काम थालिसकेका छन् । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २ सय ८३ गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन हुँदै छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तह निर्वाचनको सबैखाले तयारी पूरा भइसकेको बताए । परिचयपत्र वितरणको पहिलो दिन बिहीबार कतै ३०, कतै ४०, कतै ६० प्रतिशतसम्म बाँडिसकिएको जानकारी प्राप्त भएको उनले बताए । ‘मतदातामा विशेष उत्साह देखिएको छ, त्यसले मतदान राम्रो हुने संकेत दिएको छ,’ उनले थपे, ‘सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति रहने विश्वस्त तुल्याएको छ । मतदाताले ढुक्क भएर आफूले रोजेको उम्मेदवारलाई मतदान गर्नुहुनेछ ।’ वैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।
भोट हाल्न मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । बिहीबार सुरु परिचयपत्र वितरण शनिबारसम्म नै हुने आयोगले जनाएको छ । आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचन आयोग मतदाताको सामीप्यमा पुगिसकेको बताए । उनले कहीँ कतै समस्या भएको सूचना नआएको भन्दै सबै मतदान केन्द्रमा कर्मचारी पुगेर काम थालिसकेको जानकारी दिए । ‘मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षाको काम पनि मतदान केन्द्रबाट भइरहेको छ,’ उनले भने । पहिलो चरणमा काठमाडौं, ललितपुर, भरतपुर, पोखरा–लेखनाथ चारवटै महानगरपालिकामा निर्वाचन हुँदै छ । त्यसबाहेक हेटौंडा उपमहानगरमा पनि वैशाख ३१ मै निर्वाचन हुँदै छ । पहिलो चरणको निर्वाचनमा कुल १३ हजार ५ सय ५६ पदका लागि ४९ हजार ३ सय ३७ जना प्रतिस्पर्धामा छन् । महिला उम्मेदवारको संख्या ३९ दशमलव १८ प्रतिशत छ ।
वैशाख ३१ गतेको निर्वाचनका लागि बिहीबार राति १२ बजेबाट सबै प्रकारको चुनावी प्रचारप्रसारमा रोक लगाइएको छ । आयोगका सचिव मैनालीले निर्वाचन हुने दिनभन्दा ४८ घण्टा पूर्वबाट मौन अवधि सुरु भएकाले प्रचारप्रसार गर्न नपाइने बताए । मौन अवधिमा मतदातालाई कुनै प्रकारले प्रभावित गर्न पाइने छैन । ‘मौन अवधि भनेको मतदाताको समय हो, यस अवधिमा मतदाताले पार्टीहरूका घोषणापत्र, उम्मेदवारका एजेन्डालगायत विषयमा स्वतन्त्र ढंगले अध्ययन गर्न र सोच्न पाउनुपर्छ,’ उनले भने, ‘मतदाताले कुन उम्मेदवार ठीक हो भन्ने पहिचान गरी मतदानका लागि निर्णय गर्ने समय हो ।’ उनले प्रचारप्रसार गरी थाकेका प्रचारक र उम्मेदवारले पनि यस अवधिमा थकाइ मार्नुपर्ने बताए ।
मौन अवधिमा मतदातालाई कुनै किसिमले प्रभाव पार्न, पक्ष वा विपक्षमा कुनै पनि माध्यमबाट मत माग्न पाइने छैन । ‘कुनै प्रकारको सभा, सम्मेलन, गोष्ठी, घरदैलो वा सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्न पाइँदैन,’ उनले भने, ‘दोषी ठहर भए एक लाख रुपैयाँ जरिवाना वा उम्मेदवारी खारेजीसम्मको सजाय भोग्नुपर्ने हुन्छ ।’ सल्यानको कुमाखमालिका गाउँपालिकाको वडा नम्बर १, चितवनको कालिका नगरपालिका वडा नम्बर ११ र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको वडा नम्बर १२ को मतदान भने सरेको छ ।
ती तीनवटै वडाका एक/एक जना वडा सदस्यका उम्मेदवारको निधन भएकाले निर्वाचन कार्यतालिका सारिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । सल्यानमा नेपाली कांग्रेसका वडा सदस्य उम्मेदवार दले राना, चितवनमा माओवादी केन्द्रका उम्मेदवार सिफल चेपाङ र धुलिखेलमा राप्रपाका उम्मेदवार सुकलाल तामाङको निधन भएको हो ।
निर्वाचन सञ्चालन शाखाका प्रमुख देशबन्धु अधिकारीले उम्मेदवारको निधन भएका वडामा सम्बन्धित दललाई उम्मेदवारी दर्ताको समय दिएर निर्वाचनको नयाँ कार्यक्रम तय गरिएको बताए । त्यसअनुसार सल्यानको कुमाखमालिका गाउँपालिकाको वडा नम्बर १, चितवनको कालिका नगरपालिका वडा नम्बर ११ मा जेठ २ गते र धुलिखेल नगरपालिकाको वडा नम्बर १२ मा जेठ ३ गते निर्वाचन हुनेछ । यसअघि डोल्पाको शेफोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पद निर्विरोध निर्वाचित भइसकेका छन् । विभिन्न पदमा गरी कुल ३ सय २९ जना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ ।

![कान्तिपुर दैनिक [Kantipur Daily]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/kantipur.png)









































