विराटनगर– निर्वाचनको मिति तेस्रोपटक सरे पनि दलहरूले आफ्ना चुनाव केन्द्रित गतिविधिलाई निरन्तरता दिइरहेका छन् । अधिकांश दलले आफ्ना उम्मेदवार टुंगो लगाएका छन् । केही उम्मेदवार घोषणाको अन्तिम तयारीमा जुटेका छन् । टुंगो लागेसँगै कतिपय दलमा आन्तरिक असन्तुष्टि पनि चुलिएको छ । विभिन्न दलबीच एक–अर्काका कार्यकर्ता आफ्नोमा तान्ने होडबाजीसमेत देखिन्छ ।
उम्मेदवारी टुंग्याउँदै
इलाममा कांग्रेस, एमाले र माओवादीले उम्मेदवार चयन प्रक्रिया टुंगोमा पुगेको जनाएका छन् । आकांक्षी धेरै भएकाले कांग्रेस र एमालेमा असन्तुष्टहरूको विरोध पनि चुलिँदै गएको छ । कांग्रेसले दस स्थानीय तह र वडामा उम्मेदवारको छनोट गरिसकेको छ । गाउँपालिकाका प्रमुख र उपप्रमुखको नामावली भने अनुमोदनका लागि केन्द्रमा पठाइएको जिल्ला सचिव निरोज खड्गीले बताए । पार्टीले पुरानो इलाम नगरपालिकामा पार्टी सभापति हिमालय कर्माचार्यलाई उम्मेदवार बनाएको छ । उपमेयरमा चन्दा कार्कीलाई अघि सारिएको छ ।
एमालेका तर्फबाट मेयरमा महेश बस्नेत र उपमेयरमा सुशीला नेम्वाङले प्रतिस्पर्धा गरिरहेका छन् । २०५४ को स्थानीय चुनावमा कर्माचार्यलाई पछि पार्दै बस्नेतले बाजी मारेका थिए । माओवादी केन्द्रले मेयरमा छविलाल आचार्य र उपमेयरमा प्रेमकुमारी गुरुङलाई उम्मेदवार बनाएको छ ।
कांग्रेसले सूर्योदय नगरपालिकामा दुर्गा बराल र वन्दना अधिकारीलाई मेयर र उपमेयरको उम्मेदवार तोकेको छ । एमालेबाट आरबी राई र दुर्गा भट्टराई चयन भएका छन् । माओवादी केन्द्रबाट छवि राई र टीका घिमिरे राई प्रत्याशी छन् । देउमाई नगरपालिकामा कांग्रेसबाट मेयरमा होम दुलाल र उपमेयरमा सूर्यमाया राई तोकिएका छन् । एमालेले सूर्यप्रसाद पोख्रेल र पविमाया राईलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रको तर्फबाट राम राई र शान्ता बस्नेत चुनावी मैदानमा उत्रेका छन् ।
कांग्रेसबाट माई नगरपालिकामा विष्णु कार्की र चन्द्रमाया सुब्बा मेयर र उपमेयरका उम्मेदवार छानिएका छन् । एमालेले दीपक थेबेलाई मेयर र विष्णुमाया आचार्यलाई उपमेयर पदको उम्मेदवार बनाएको छ । त्यस्तै माओवादी केन्द्रबाट भक्तबहादुर लुङ्गेली र रञ्जना थापा उम्मेदवार छन् ।
कांग्रेसबाट चुलाचुली गाउँपालिकामा राजेन्द्र केरुङ र लक्ष्मी मिश्र अध्यक्ष र उपाध्यक्षका प्रत्याशी बनेका छन् । सन्दकपुर गाउँपालिकामा देवेन्द्र सुवेदी अध्यक्षका उम्मेदवार चयन भएका छन् । त्यस्तै माइजोगमाई गाउँपालिकामा पेम्बा शेर्पा र लोकमाया थेबे अध्यक्ष र उपाध्यक्षका उम्मेदरवार तय भएका छन् ।
फाकफोकथुम गाउँपालिकामा रामकुमार श्रेष्ठ अध्यक्ष र डालाकुमारी विष्ट उपाध्यक्ष उम्मेदवारका प्रत्याशी छानिएका छन् । माङसेबुङ गाउँपालिकाका अध्यक्षमा डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जुनु माखिमलाई उम्मेदवार बनाएको छ । त्यस्तै रोङ गाउँपालिकामा शमशेर राई अध्यक्ष र चन्द्रकला राई (बुढाथोकी) उपाध्यक्ष उम्मेदवार बनेका छन् ।
एमालेले चुलाचुली गाउँपालिकाका अध्यक्षमा प्रदीपचन्द्र राई र उपाध्यक्षमा निर्मला दाहाललाई उम्मेदवार बनाएको छ । माङ्सेबुङमा हेमन्त राईलाई अध्यक्ष र सुनीता योङ्हाङलाई उपाध्यक्ष बनाएको छ । फाकफोकथुममा एमालेले दीपेन्द्र खनाललाई अध्यक्ष र सरस्वती राईलाई उपाध्यक्ष पदको उम्मेदवार बनाएको छ ।
यस्तै सन्दकपुर गाउँपालिकामा एमालेले उदय राईलाई अध्यक्ष र शोभा पराजुलीलाई उपाध्यक्ष पदको उम्मेदवार तोकेको छ । माइजोगमाईमा जितबहादुर राई अध्यक्ष र सावित्रा भट्टराई उपाध्यक्ष चयन भएका छन् । रोङ गाउँपालिकामा एमालेले बृहस्पति खतिवडालाई अध्यक्ष र विष्णुमाया खवासलाई उपाध्यक्ष पदको उम्मेदवार बनाएको छ ।
एमालेले यसअघि नै इलामका ८१ वडाका उम्मेदवारहरूको टुङ्गो लगाइएको एमाले इलामका निर्वाचन प्रचार–प्रचार समिति प्रमुख नवराज शंकरले बताए । माओवादी केन्द्रले चुलाचुली गाउँपालिकामा सुकबहादुर लावतीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । रोङ गाउँपालिकामा नवराज कट्टेल माओवादीबाट अध्यक्षका प्रत्याशी बनेका छन् ।
सन्दकपुर गाउँपालिकामा प्रेम नाछिरिङलाई केन्द्रले उम्मेदवार चयन गरेको छ । माइजोगमाईमा देवीभक्त सिवाकोटी र फाकफोकथुममा राजकुमार थापा अध्यक्षका प्रत्याशी बनेका छन् । राजनीतिक दलले अझै पनि केही स्थानमा तालमेलको सम्भावनालाई खुला राखेकाले उम्मेदवारको अन्तिम नामावली भने यसैलाई आधार मान्ने अवस्था नदेखिएको सम्बन्धित पार्टीका कार्यकर्ता बताउँछन् ।
झापामा युवालाई अवसर
कांग्रेसले झापाका १५ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । अधिकांश स्थानमा युवालाई अवसर दिएको छ । जिल्ला सभापति उद्धव थापाका अनुसार मेचीनगर मेयरमा विमल आचार्य र उपमेयरमा दुर्गा खतिवडा, बिर्तामोडमा जलकुमार गुरुङ र पार्वती गिरी, भद्रपुरमा गणेश पोखरेल र तारादेवी भुर्तेल र कन्काईको मेयरमा एकराज उप्रेती र उपमेयरमा कविता बस्नेत उम्मेदवार बनेका हुन् ।
यसैगरी शिवसताक्षीको मेयरमा पर्शुराम ढुंगाना र उपमेयरमा जयकुमारी चेम्जोङ, दमकमा ढुण्डिराज भण्डारी र रेगिना भट्टराई, गौरादहमा रोहित शाह र सुमित्रा खरेल ढुंगेल तथा अर्जुनधाराको मेयरमा हेमराज खरेल र उपमेयरमा सरस्वती सिटौलालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
गाउँपालिकातर्फ बुद्धशान्तिको अध्यक्षमा रमेश भुजेल र उपाध्यक्षमा चन्द्रकला भट्टराई, गौरीगन्जमा फूलवती राजवंशी र दीपेन्द्र थापा, झापामा जयनारायण साह र बसुन्धरा थपलिया, बाह्रदशीमा खड्ग राजवंशी र रत्ना राजवंशी र हल्दिबारीको अध्यक्षमा दिलीपकुमार मावो तथा उपाध्यक्षमा चन्द्रकला राई उम्मेदवार तय भएका छन् ।
कचनकवलको अध्यक्षमा कालेन्द्रप्रसाद राजवंशी र उपाध्यक्षमा गीता ओडारी खरेल तथा कमलको अध्यक्षमा हुकुमसिंह राई र उपाध्यक्षमा दीपा गौतमलाई उम्मेदवार बनाउने निर्णय भएको सभापति थापाले बताए । उनले उम्मेदवार टुंगो लगाउन ढिला भए पनि आदिवासी, जनजाति, युवा, महिलालगायत सबैलाई समेटेर उम्मेदवार छनोट गरेको दाबी गरे । झापामा ८ नगरपालिका र ७ गाउँपालिका छन् ।
कार्यकर्ता तान्ने होडबाजी
ओखलढुंगामा राजनीतिक दलहरूबीच कार्यकर्ता तानातानको होडबाजी चलिरहेको छ । केही दिनअघि मात्रै कांग्रेसको पलापुमा आयोजित चुनावी सभामा दर्जनौं प्रवेश गरेको खबर सामाजिक सञ्जालमा पोस्ट गरिए । बिहीबारै माधवपुरमा पनि एमाले छाडेर ७० जना कांग्रेसमा प्रवेश गरेको पार्टीका नेताको दाबी छ ।
कांग्रेसबाट निर्वाचित सांसदकै गाउँ थाक्लेबाट एमालेले १ सय ७० जना कांग्रेस कार्यकर्ता र स्थानीय नेता नै एमालेमा प्रवेश गराएको सांसद यज्ञराज सुनुवारले बताए । एमालेले भर्खरै मात्रै कांग्रेसको गढ भनिएको उुँबु, रुम्जाटारलगायत स्थानबाट ५ सयभन्दा बढी पार्टीमा प्रवेश गरेको दाबी गरेको छ ।
जिल्लाको पश्चिमी गाउँपालिकाहरूमा माओवादी केन्द्र छाड्ने र प्रवेश गर्नेको पनि कमी छैन । ‘हाम्रो पार्टीमा प्रवेश गर्ने धेरैजसो कांग्रेसबाटै आएका छन्,’ एमालेका जिल्ला सचिव शंकर कटवालले भने, ‘एउटा त पहिलो चरणको निर्वाचनमा सबैतिर एमालेले जितेको लहरले गर्दा पनि हो । अर्को भनेको आफ्नो पहुँच र क्षेत्रको उम्मेदारलाई जिताउन पार्टीमै लाग्दा राम्रो भन्ने लागेर आउने पनि छन् ।’
एमालेले आफ्नो पार्टीमा प्रवेश गर्ने अधिकांश नै मतदाता नामावलीमा नाम दर्ता भएका मतदाता रहेको जनाएको छ । पार्टी प्रवेश गराउने र गर्ने नाममा मतदाता नामावलीमा नामै नभएकाको संख्या पनि रहेको दलकै कार्यकर्ता तथा नेताहरूको भनाइ छ । चुनावमा जित्ने माहोल देखाउन र उम्मेदवारबाट लाभ लिनका लागि पनि पार्टी प्रवेश गर्नेको संख्या उत्तिकै छ ।
अझ पार्टीमा कार्यकर्ता प्रवेश गराउनका लागि केन्द्रीय नेताबाट अबिर लाउने प्रचलन बढेको छ । एमालेको अधिकांश गाउँस्तरीय कार्यक्रममा एमाले महासचिव ईश्वर पोख्रेल आफैं आइपुग्ने गरेका छन् । केही स्थानमा शेरधन राई पनि आए । महासचिव पोख्रेलको पुख्र्यौली घर पनि ओखलढुंगा नै भएकाले उनी महिनामा २/४ पटकसम्म आउने गरेका छन् ।
माओवादी केन्द्रले पनि केही महिनाअघि गोप्य रूपमा आफ्ना पार्टीका मन्त्री र केन्द्रीय नेता नै ल्याएका थिए । त्यतिखेर पनि पार्टी प्रवेश गराउने र अन्य दलबाट आफ्नो पार्टीमा आउन खोज्नेलाई भेट गराउने काम भएको थियो । कांग्रेसका सांसद रामहरि खतिवडा अहिले जिल्लाको चम्पादेवी, मानेभन्ज्याङ गाउँपालिकामा उम्मेदवारका लागि भोट मागिदिन आफैं हिँडिरहेका छन् ।
ढिलाइले पार्टी परिवर्तन
समयमै पार्टीले उम्मेदवारको निर्णय नगरेको भन्दै सुनसरीको भोक्राहा गाउँपालिका प्रमुखका दाबेदार मौलिम मन्सुरी कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । पूर्वगाविस उपाध्यक्षसमेत रहेका मन्सुरी यो पटक गाउँपालिका प्रमुखका दाबेदार थिए । पार्टीले राम्रो मूल्यांकन नगरेको र उम्मेदवारको निर्णयसमेत गर्न नसकेको जनाउँदै बिहीबार एमालेमा प्रवेश गरेको उनले जनाए । कांग्रेसले अजमल हुसेनलाई भोक्राहा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेपछि उनी रुष्ट बनेका हुन् ।
म्यादी प्रहरी गाउँगाउँमा
संखुवासभामा म्यादी प्रहरीलाई गाउँगाउँ परिचालन गरिएको छ । सदरमुकाम र गाउँपालिकामा केन्द्रित ४ सय ८७ जना म्यादीलाई इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा पठाइएको डीएसपी गौतमकुमार केसीले बताए । जिल्लामा भएका ३६ वटा प्रहरी युनिटमा उनीहरूलाई खटाइएको हो । तालिमपछि दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि थप जनशक्तिका रूपमा म्यादी र प्रहरीलाई परिचालन गरिएको हो ।
प्रहरी चौकीमा भएका प्रहरीसँग मिलेर म्यादीले शान्ति सुरक्षा तथा गस्ती गर्ने, निर्वाचनका लागि भूगोल र मतदान केन्द्रको जानकारी लिने काम गर्ने उनले बताए । जिल्ला तथा इलाका प्रहरी कार्यालयमा तालिम दिएर उनीहरूलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने दायित्वबोध गराई खटाइएको उनले बताए ।
चुलोचौका छाडेर प्रचार
भोजपुर (कास)– ३१ वर्षीया प्रमिला राईलाई चुनाव प्रचार–प्रसारमा भ्याइनभ्याई छ । माओवादी केन्द्रले उनलाई षडानन्द नगरपालिकाको उपमेयर पदको उम्मेदवार बनाएको छ । त्यसयता भोट माग्न उनी गाउँघर पुग्न थालेकी छन् । १४ वर्षदेखि एउटा निजी विद्यालयमा शिक्षण गर्दै आएकी राई राजनीतिमा प्रवेश गरेकी हुन् ।
‘पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको छ । घरधन्दा र पेसा छाडेरै लाग्नैपर्यो नि,’ उनले भनिन्, ‘हारजितको सबाल छ ।’ २०६१/०६२ तिर क्याम्पस पढदा माओवादी निकट विद्यार्थी संगठनमा आबद्ध उनी त्यसपछि राजनीतिमा खासै सक्रिय थिइनन् ।
उनको सक्षमता र शैक्षिक स्तर हेरेर उपमेयर बनाएपछि पुन: राजनीतिमा लागेकी छन् । काखमा सानो बच्चा च्यापेर नगरपालिकाको टोलटोलमा चुनावी सभा सम्बोधन गर्न र भोट माग्न खटेकी छन् । बिहान १० देखि दिउँसो ४ बजेसम्म विद्यालयमा बित्ने समयका अलावा घरव्यवहारमै उनको समय खर्च हुन्थ्यो । अहिले रात–दिन दिलोज्यान दिएर चुनावमा लागेकी हुन् ।
श्रीमान् यङ्गराज राई पनि प्रचारप्रसारमा सहयोगका लागि साथै हिँड्छन् । राईले विकास निर्माणभन्दा पनि महिला हकहितका विषयलाई मुख्य एजेन्डा बनाएको बताउँछिन् । ‘आफू महिला भएकैले पनि महिला क्षेत्रलाई नै समेटेर भोट मागिरहेकी छु, एक जना महिलाले मात्र स्थान पाएर हुँदैन, हजारांै महिला अझै पनि थिचोमिचोमा छन्,’ उनले भनिन् ।
नगरपालिकाकै लागि कांग्रेसबाट उपमेयर पदमा उठेकी सीता श्रेष्ठको दैनिकी पनि प्रमिलाको भन्दा फरक छैन । सधंैजसो चुलाचौका र किराना पसलमा बित्दै आएको दैनिकी अचेल चुनाव प्रसारप्रसारका लागि गाउँ पुग्न र भोट माग्नमै बित्छ् । उनी घरधन्दा छोरीहरूकै भरमा छाडेर रात–दिन चुनावी दौडमा लागेकी छन् ।
दिंलाबजारस्थित किराना पसलमा भेटिने श्रेष्ठलाई भेट्न अचेल कांग्रेसका चुनावी कार्यक्रमतिरै हान्निनुपर्छ । उनी हरेक दिन मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेकी हुन्छिन् । एमालेबाट उपमेयरकी उम्मेदवार २९ वर्षीया मेरिका राईलाई पनि चुनावको दौडधुप छ । अविवाहित उनलाई घरधन्दाको सकस नभए पनि उम्मेदवारी पदको जिम्मेवारी छ । विद्यार्थी संगठनदेखि नै राजनीतिमा निरन्तर सक्रिय रहे पनि वास्तबिक राजनीतिभित्र घेरिएको सुनाउँछिन् ।
उनले २०७० सालको संसदीय चुनावका उम्मेदवारका लागि भोट माग्दै गाउँ घुम्ने अवसर पनि पाएकी थिइन् । ‘अरूका लागि भोट माग्दै हिँड्नु र आफ्ना लागि स्वयं आफैंले माग्नुमा त्यति फरक नभए पनि गम्भीर त हुनै पर्दोरहेछ,’ उनले भनिन्, ‘महिलाका मुद्दालाई मुख्य एजेन्डा बनाएर चुनावमा लागेकी छु, पुरुष मतदातालाई नि उत्तिकै रिझाउनु परेको छ ।’
स्थानीय तहको चुनावका लागि उनीहरूजस्ता महिला चुलोचौका र निश्चित घेराबन्दीभन्दा पृथक भूमिकामा छन् । जिल्लामा दुई नगरपालिका, सात गाउँपालिका र ८१ वडा छन् । प्रयेक एकाइमा प्रमुख या उपप्रमुखमध्ये एकमा महिला अनिवार्य तोकिएका छन् । अन्य पदमा पनि महिलाका लागि आरक्षण कोटा छन् ।