स्थानीय निर्वाचन
देश ७ मा मिश्रित परिणामको संकेत
प्रारम्भिक मत परिणाम आउन थाल्यो
मतगणनाको अवस्था सुधार भएन
- सुदूरपश्चिम ब्युरो
महेन्द्रनगर– ७ नं. प्रदेशका ९ जिल्लामा बुधबार सम्पन्न स्थानीय तहको दोस्रा चरण निर्वाचनको मतगणना जारी छ । बिहीबार साझसम्म बझाङका दुई गाउँपालिकाको मात्र नतिजा सार्वजनिक भएको छ ।
प्रदेश नं ७ को सबैभन्दा बढी मतदाता भएको कैलालीमा प्रारम्भिक मत परिणामअनुसार मिश्रित नतिजा आउने देखिएको छ ।
६ वटा नगरपालिका, ६ वटा गाउँपालिका र एउटा उपमहानगरपालिका रहेको कैलालीमा ७४ प्रतिशत मत खसको थियो । ४ लाख ३ हजार २ सय ८० मतदाता रहेको कैलालीमा २ वटा स्थानीय तहमा नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार अगाडि देखिएका छन् भने माओवादी केन्द्र पनि ४ वटा स्थानीय तहमा प्रारम्भिक मतगणनामा अगाडि देखिएको छ ।
प्रमुख प्रतिपक्षी एमाले अहिलेसम्म ३ गाउँपालिकामा मात्र अगाडि देखिएको छ । अन्य ४ वटा स्थानीय तहमा कांग्रेस प्रारम्भिक परिणाममा अगाडि देखिएको छ भने कैलालीको पहाडी गाविस मोहन्यालमा अहिलेसम्म मतगणना सुरु हुन नसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार कांग्रेस धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, लम्की चुहा नगरपालिका, जानकी गाउँपालिकामा प्रारम्भिक मतगणनामा अगाडि देखिएको छ ।
माओवादी केन्द्र पनि ४ वटा स्थानीय तहमा अग्रता लिएको छ । माओवादी केन्द्र घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलाली गाउँपालिकामा अगाडि देखिएको छ । फोरम लोकतान्त्रिकले टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको छ । संगठन कमजोर रहेको संघीय समाजवादी फोरमले कैलालीको एक स्थानमा अग्रता लिएको छ । संघीय समाजवादीले कैलालीको जोशीपुर गाउँपालिकामा प्राररम्भिक मतगणनामा अग्रता लिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
स्वतन्त्र कांग्रेसलाई पछ्याउँदै
प्रदेश नं. ७ को एक मात्र उपमहानगर धनगढीमा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले कांग्रेसका उम्मेदवार नृप वडसँग कडा प्रतिस्पर्धा गरिरहेका छन् । एमाले, माओवादी जस्ता मूलधारका राजनीतिक दलभन्दा उनले प्रारम्भिक मतगणनामा निकै अगाडि देखिएका छन् ।
विगतमा भएका थरुहट र अखण्ड सुदूरपश्चिम आन्दोलनको प्रभाव यस पटकको निर्वाचनमा परेको देखिएको छ । थारू बहुल क्षेत्रमा मतदाताको रुझान फोरम लोकतान्त्रिकतिर देखिएको छ । निर्वाचनअघि थरुहट पार्टी र फोरमबीच भएको एकताले पनि निर्वाचन परिणामलाई निकै प्रभावित पारेको देखिएको छ ।
सूचना पाउन कठिन
कैलालीमा रहेका १३ वटा स्थानीय तहमध्ये १२ वटा स्थानीय तहमा भइरहेको मतगणनाको आवश्यक सूचना पाउन सञ्चारकर्मीलाई कठिन भएको छ । धनगढी उपमहानगरकै मत परिणामको जानकारी पाउनसमेत कठिन भएको सञ्चारकर्मीले जनाएका छन् ।
‘सञ्चारकर्मीलाई सूचना दिन आवश्यक संयन्त्र नै बनाइएको छैन,’ नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगतबहादुर साउदले भने, ‘सूचना पनि फरक फरक गरी बाहिर आउने गरेको छ ।’
बझाङमा एमालेको अग्रता
स्थानीय तहको मतगणना सुरु भएको बझाङमा धेरैजसोमा एमालेले अग्रता लिएको छ । जिल्लाको विकट काँडा गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।
एमाले मस्टा गाउँपालिकामा विजयी भएको छ । दुर्गाथली, खप्तड छान्ना, थलारा, वित्थचिर, केदारस्युँ गाउँपालिका र बुङगल नगरपालिकामा अग्रता लिइरहेको छ । कांग्रेसले तल्कोट र सुर्मा गाउँपालिकामा अग्रता लिएको छ ।
१२ स्थानीय तह रहेको यस जिल्लामा जयपृथ्वी नगरपालिकाको मतदान स्थगित भएका कारण मतगणना सुरु भएको छैन भने छविस पाथिभेरे गाउँपालिमा माओवादी केन्द्र र एमालेबीच भएको झडपका कारण मतगणना सुरु हुन सकेको छैन ।
डडेलधुरामा कांग्रेस अगाडि
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका ७ स्थानीय तहमध्ये ४ मा कांग्रेसले प्रारम्भिक गणनामा अग्रता लिएको भए पनि एमाले र माओवादीले पनि राम्रै प्रदर्शन गरिरहेका छन् ।
कांग्रेस ३ गाउँपालिका र सदरमुकामको अमरगढी नगरपालिकामा अगाडि छ । माओवादी केन्द्र परशुरा नगरपालिका र अजयमेरु गाविसमा अगाडि रहेको छ । एमाले भागेश्वर गाउँपालिका अगाडि देखिएको छ ।
डोटीमा कांग्रेसको अग्रता
डोटीका दुई नगरपालिका र के आईसिंह गाउँपालिकामा १४ गते मध्यरातिबाट मतगणना सुरु भए पनि अन्य गाउँपालिकामा बिहीबारमात्र मतगणना सुरु भएको थियो । पछिल्लो मतपरिणामअनुसार डोटीका २ नगरपालिका र ४ गाउँपालिकामा कांग्रेस अग्रस्थानमा छ भने एमाले दुई गाउँपालिकामा अगाडि छ । माओवादी केन्द्र १ ठाउँमा अगाडि रहेको छ । डोटीका दुई गाउँपालिका वडा अध्यक्षमा कांग्रेस विजयी भएको छ ।
थारूको मत थारूलाई
कैलालीको टीकापुरमा थारूको मत थारूलाई गएको प्रारम्भिक विश्लेषण छ । थारूको बाक्लो बस्ती रहेको टीकापुरको वडा नं. ३, ५ र ६ बाट मतगणना सुरु गरिएकोमा बिहीबार साँझसम्म करिब ३ हजार मतगणना पूरा हुँदा लोकतान्त्रिक फोरमले अग्रता लिनुले थारूको मत थारूलाई गएको विश्लेषण गरिएको हो ।
मेयरका लागि कांग्रेस माओवादी र एमालेले पहाडी समुदायबाट उम्मेदवार बनाएकाले थारू समुदायको मत कम आउने आकलन मतदान अघि नै गरिएको थियो । लोकतान्त्रिक फोरमले पनि थारूका मत बढीभन्दा बढी तान्ने प्रयास गरेको हो । थारूका मत तान्न सके चुनाव जित्न सक्ने आकलन फोरमको हो ।
‘राजनीतिक दलको सक्रिय राजनीतिमा लागेका थारूबाहेकको थारू मत एकलौटी रूपमा लोकतान्त्रिक फोरममा गएको देखिएको छ’ टीकापुर बहुमुखी क्याम्पसमा अध्यापनरत सहप्राध्यापक बालकुमार चौधरीले भने, ‘यो मतले टीकापुरमा भावनात्मक एकता हुन नसकेको सन्देश दिन्छ । अहिलेको मत परिणामलाई अखण्ड सुदूरपश्चिम र थारूवान आन्दोलनको प्रतिबिम्ब मान्न सकिन्छ ।’
टीकापुर नगरपालिकामा लोकतान्त्रिक फोरमका लौटन चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामकृष्ण चौधरी थारू समुदायबाट मेयर पदका हुन् । राष्टिय प्रजातन्त्र पार्टीबाट रामकृष्ण चौधरी थारू समुदायबाट उम्मेदवार भए पनि देशभरि राप्रपा त्यति बलियो नदेखिएकोले थारू समुदायको बढी मत फोरम लोकतान्त्रिकलाई आएको अनुमान यहाँका स्थानीयको रहेको छ ।
कैलालीको भजनीमा पनि बिहीबार साँझसम्म लोकतान्त्रिक फोरमले अग्रता लिएको छ । जोशीपुर गाउँपालिकामा भने संघीय समाजवादी/नयाँ शक्तिले अग्रता लिएको छ ।
जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकामा नेकाको अग्रता देखिएको छ भने घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकामा माओवादीको अग्रता देखिएको छ । एमाले बर्दगोरिया नगरपालिकामा अग्र देखिएको छ ।
५ मा एमाले, २ मा कांग्रेस र १ मा राप्रपाको अग्रता
बैतडीको मेलौली र पुर्चौडी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर, सुर्नया, दोगाडाकेदार गाउँपालिकामा एमालेले सामान्य अग्रता लिएको छ । दशरथ चन्द नगरपालिकामा राप्रपाले अग्रता लिएको छ । डिलासैनीमा साँझ ५ बजेबाट मात्रै मतगणना सुरु भएको छ । सिगास गाउँपालिकामा साढे ५ बजेसम्म मतगणना सुरु हुन सकेको छैन । सिगासका २ वडाका मतपेटिका बिहीबार दिउँसो हेलिकप्टरमार्फत संकलन भएका थिए ।
१० स्थानीय तहका ८४ वडामध्ये ७ वडाको मत परिणाम सार्वजनिक भएको छ । ३ वडामा कांग्रेस, ३ मा एमाले र १ वडामा राप्रपा विजयी भएका छन् ।
कञ्चनपुरमा एमालेको अग्रता
कञ्चनपुरका ७ वटै नगरपालिका र २ गाउँपालिका गरी ९ वटै स्थानीय तहमा मतगणना जारी छ । महाकाली नगरपालिकामा बुधबारदेखि नै मतगणना सुरु भएको हो भने अन्यमा बिहीबारबाट मात्रै सुरु भएको हो ।
बुधबार साँझसम्मको प्रारम्भिक परिणामअनुसार ६ ठाउँमा एमालेको अग्रता देखिएको छ भने २ वटामा कांग्रेस र १ मा माओवादी केन्द्रको अग्रता देखिएको छ । एमालेले बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, पुनर्वास नगरपालिका र बेल्डाडी गाउँपालिकामा अग्रता लिएको छ । महाकाली र भीमदत्त नगरपालिकामा कांग्रेस र लालझाडी गाउँपालिकामा माओवादी केन्द्रको अग्रता देखिएको छ ।
सबै स्थानीय तहमा थोरै मतको अन्तर भएकाले तत्काल केहि भन्न सकिने अवस्था छैन । कतिपय तहमा २/४ मतको समेत अन्तर देखिएको छ । ५० देखि २ सयभन्दा बढीको अन्तर देखिएको छैन ।
बाजुरामा कांग्रेस र एमालेको बराबरी अवस्था
बाजुरामा बिहीबार अबेरसम्म हिमाली गाउँपालिका बाहेक ८ वटै स्थानीय तहमा मतगणना जारी छ । प्रारम्भिक परिणामअनुसार बडिमालिका नगरपालिका र पाण्डवगुफा, स्वामीकार्तिक र गौमुल गाउँपालिका गरी ४ मा एमालेले अग्रता लिएको छ । यस्तै त्रिवेणी र छेडेदह गाउँपालिका तथा बुढीनन्दा र बुढीगंगा नगरपालिका गरी ४ मा कांग्रेसले अग्रता लिएको छ ।
अछामका ८ तहमा मतगणना सुरु
अछामको चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिकाको मतगणना कार्य अझै अनिश्चित बनेको छ । चौरपाटी गाउँपालिका ४ को पायलस्थित बैजनाथ मावि मतदान केन्द्रमा एमालेले एकलौटी रूपमा मतदान गरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले मतदान प्रक्रिया नै रद्द गर्न माग गरेपछि चौरपाटी गाउँपालिकाको मत गणना अनिश्चित बनेको हो ।
मतदान प्रक्रिया नै रद्द गर्न माग गर्दै दुई दलले जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निवेदन दिएपछि उक्त निवेदन निर्वाचन आयोगमा पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस्तै पञ्चदेवल विनायक नगरपालिका, मेल्लेख गाउँपालिका र तुर्माखाँद गाउँपालिकाको भर्खरै मात्र मतगणना सुरु भएको छ । मतगणना सुरु भएका अन्य तहमध्ये मंगलसेन नगरपालिकामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् भने बान्नीगढी जयगढ, ढकारी गाउँपालिकामा कांग्रेसले अग्रता कायम गरेको छ । अछामका तीन वडामा नेपाली कांग्रेसका उम्मेदवारले पूरै प्यानल विजयी भएको छ । यस्तै अछाममा माओवादी केन्द्रले पनि विजयी सुरुवात गरेको छ । माओवादी केन्द्रको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा पूरै प्यानल विजयी भएको हो ।