You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 3
गृह पृष्ठ

बन्यो निर्वाचन क्षेत्र निर्धारण आयोग

- राजेश मिश्र

काठमाडौं– निर्वाचन आयोगले दबाब बढाएपछि सरकारले बिहीबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । आयोगले साउन १५ गतेभित्र क्षेत्र निर्धारणको प्रतिवेदन माग गरिरहेका बेला सरकारले २१ दिनको अवधि दिएर आयोग गठन गरेको हो । संविधानले सर्वोच्चका पूर्वन्यायाधीशको अध्यक्षतामा भूगोलविद् एकजना, समाजशास्त्री वा मानवशास्त्री एकजना, प्रशासनविद् वा कानुनविद् एकजना सदस्य तथा सरकारको विशिष्ट श्रेणीका अधिकृत सदस्य–सचिव रहने गरी आयोग गठनको व्यवस्था गरेको छ ।
संविधानको धारा २८६ मा उक्त आयोग गठनसम्बन्धी व्यवस्था छ । आयोग गठनसम्बन्धी कानुन संसद्बाट पारित भइसकेको छ । सरकारका प्रवक्ताको जिम्मेवारीमा रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आयोगका सदस्यमा भूगोलविद् माधव अधिकारी, समाजशास्त्री डा. विश्वकल्याण पराजुली र प्रशासनविद् गणेशराज कार्की छन् । सदस्य सचिवमा बेगेन्द्र शर्मा पौडेल तोकिएका छन् । उनी पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक हुन् । ‘आयोगको गठनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुनिश्चित गरेको छ,’ कान्तिपुरसँग मन्त्री कार्कीले भने, ‘२१ दिनको समय तोकिएको छ । रातदिन नभनी युद्धस्तरमा काम गर्न आयोगलाई हाम्रो आग्रह छ । आयोगले समयभित्रै संवैधानिक प्रावधानअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण गरी प्रतिवेदन बुझाउनेमा सरकार विश्वस्त छ ।’ आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्र निर्धारण गर्नेछ । निर्वाचन आयोगले असोज अन्तिम सातामा प्रदेश र मंसिर पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ ।
संविधानले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सांसद निर्वाचित हुने व्यवस्था गरेको छ । आयोगले हाल कायम रहेका २४० क्षेत्रलाई घटाएर संविधानबमोजिम जनसंख्या र भूगोलका आधारमा १६५ निर्वाचन क्षेत्र निर्धारण गर्नेछ । प्रत्येक जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र हुने गरी आयोगले क्षेत्र निर्धारण गर्नुपर्नेछ । प्रदेशसभाका हकमा भने प्रतिनिधिसभा निर्वाचनका लागि सम्बन्धित प्रदेशमा निर्धारण भएको निर्वाचन क्षेत्रको दोब्बर संख्यामा क्षेत्र निर्धारण गरिनेछ ।
संविधानको धारा ८४(१) को खण्ड (क) मा जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिने उल्लेख छ । निर्वाचन क्षेत्र निर्धारण ऐनअनुसार क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानी निर्धारण गर्नुपर्नेछ । आयोगले आफ्नो कार्यविधि आफंै निर्धारण गर्न सक्ने व्यवस्था संविधानमा छ । आयोगले क्षेत्र निर्धारण गरेको प्रतिवेदन बुझाइसकेपछि सरकारले त्यसको कार्यान्वयनका लागि निर्वाचन आयोगमा पठाउनेछ । संविधानले सरकारलाई त्यसमा फेरबदलको अधिकार दिएको छैन । आयोगले निर्धारण गरेको निर्वाचन क्षेत्रको विषयमा कुनै अदालतमा प्रश्नसमेत उठाउन नपाइने संवैधानिक व्यवस्था रहेकाले आयोग शक्तिशाली मानिएको छ । निर्धारण भएको निर्वाचन क्षेत्रको प्रत्येक २० वर्षमा जनसंख्या र भौगोलिक विशिष्टताका आधारमा पुनरावलोकन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक तयारीका लागि सरकारको पटकपटक ध्यानाकर्षण गराइसकेको छ । आयोगले प्रदेशसभा सदस्य निर्वाचन ऐन तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन असार मसान्तभित्र माग गरेकोमा पाइसकेको छैन । यी दुईवटै विधेयक संसद्मा विचाराधीन छन्।

गृह पृष्ठ

उम्मेदवारी भदौ २१ मा

प्रदेश २ को कार्यतालिका

काठमाडौं (कास)– निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन कार्यतालिका बिहीबार सार्वजनिक गरेको छ । असोज २ गते गरिने निर्वाचनका लागि आयोगले भदौ २१ देखिको निर्वाचन कार्यक्रम ल्याएको हो । आयोगका प्रवक्ता सहसचिव सूर्यप्रसाद शर्माका अनुसार भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता, २४ गते निर्वाचन चिह्न प्रदानको कार्यतालिका तय भएको छ । प्रदेश नम्बर २ मा १ सय २७ स्थानीय तह छन् । राष्ट्रिय जनता पार्टीले संविधान संशोधनबिना निर्वाचनमा भाग नलिने र निर्वाचन बिथोल्ने कार्यक्रम ल्याएपछि सरकारले राजपाको प्रभाव क्षेत्र मानिएको प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा गर्ने निर्णय गरेको थियो । वैशाख ३१ गते एकै चरणमा घोषित निर्वाचन राजपाकै माग सम्बोधन प्रयासका लागि सरकारले दुई चरणमा लगेको थियो । प्रदेश नम्बर ३, ४ र ६ को वैशाख ३१ मा तथा प्रदेश नम्बर १, २, ५ र ७ का स्थानीय तहको निर्वाचन जेठ ३१ गते गर्ने वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । पछि दोस्रो चरणको निर्वाचन असार ९ हुँदै असार १४ गते पुर्‍याइयो । त्यसबीचमा मागअनुसार संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धिलगायत विषय सम्बोधन हुन नसकेपछि राजपाले चुनावमा भाग लिन मानेन । उम्मेदवारी मनोनयनको अघिल्लो दिन सरकारले असार १ गते प्रदेश नम्बर २ को निर्वाचन सार्ने निर्णय लिएको थियो । सरकारको उक्त निर्णयसँगै आयोगले प्रदेश नम्बर २ को सम्पूर्ण कार्यक्रम स्थगित गर्नुका साथै निर्वाचन अधिकृतहरूको कार्यालय बन्द गरी खटाइसकेका कर्मचारीहरूलाई फिर्ता गरेको थियो ।
प्रवक्ता शर्माले पहिलो खटाइएका कर्मचारीका नियुक्ति रद्द भइसकेकाले नयाँ ढंगबाट मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति प्रक्रिया बढाइएको बताए । आयोगले प्रदेश नम्बर २ मा मतपत्रसहितका निर्वाचन सामग्रीहरू पहिल्यै पठाइसकेको छ । ‘धेरै काम पहिले नै पूरा भइसकेको छ, तयारीमा खासै समस्या छैन,’ शर्माले भने, ‘निर्वाचन अधिकृतहरूको नियुक्तिसँगै बाँकी कामले गति लिन्छ ।’ आयोगले प्रदेश नम्बर २ को निर्वाचनका लागि १ अर्ब ७० करोड खर्चको अनुमान गर्दै उक्त रकम सरकारसँग माग गरिसकेको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा १ महानगर, ३ उपमहानगर, ४५ नगरपालिका र ७८ गाउँपालिका छन् । उक्त प्रदेशमा २६ लाख ६४ हजार ७ सय ९२ मतदाता छन् ।

गृह पृष्ठ

स्थानीय तहमा जानै मानेनन् कर्मचारी

- कान्तिपुर संवाददाता

काठमाडौं– स्थानीय तहमा खटाइएका कर्मचारीमा ‘कार्यकारी’ को विवाद उठेको छ । प्रशासन समूहका कनिष्ठ कर्मचारी ध्स्थानीय तहको कार्यकारी अधिकृत हुने भएपछि अन्य समूहका कर्मचारी असन्तुष्ट भएका हुन् । विवादका कारण शिक्षा, कृषि र वनजस्ता अन्य समूहबाट खटाइएका कर्मचारी स्थानीय तहमा जान मानिरहेका छैनन् । यसले गर्दा स्थानीय तहबाट हुनुपर्ने शिक्षालगायतका काम ठप्प छन् ।
खासगरी शिक्षा मन्त्रालयअन्तर्गतका उपसचिव र अन्य प्राविधिक मन्त्रालयअन्तर्गतका प्राविधिकले आफूभन्दा कनिष्ठमातहत रहने गरी काम गर्न नमानेका हुन् । विज्ञहरूले भने कर्मचारी समायोजन नभई अन्तरिम व्यवस्थापन मात्र भएकाले अहिले वरिष्ठताको विवाद गर्न नहुने बताएका छन् । निर्वाचन सम्पन्न भएका स्थानीय तहमा कार्यकारी अधिकृतमा सामान्य प्रशासन समूहका कर्मचारी खटाउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को गत जेठ १९ को बैठकले ‘स्थानीय तह सञ्चालनसम्बन्धी अन्तरिम व्यवस्थापन आदेश’ जारी गर्दै प्रशासन समूहका कर्मचारीकै मातहत अन्य कर्मचारी हुने निर्णय गरेको हो । चुनावअघि नै गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिव तहका कार्यकारी अधिकृत खटाइसकिएको छ । महानगरमा भने सहसचिवस्तरका कार्यकारी अधिकृत छन् । पछि अन्य मन्त्रालयका कर्मचारी स्थानीय तहमा व्यवस्थापन गर्दा कनिष्ठ कार्यकारी अधिकृत मातहत हुन पुगेपछि विवाद सृजना भएको हो । मुख्य सचिव, सामान्य प्रशासन सचिव र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव रहेको ३ सदस्यीय कार्यदलले स्थानीय तहमा कर्मचारीको अन्तरिम व्यवस्थापन गरेको थियो । कार्यदलले शिक्षा, स्वास्थ्य, कृषि, वनसहित १२ मन्त्रालयसँग समन्वय गरी कर्मचारीको तह निर्धारण र खटन गरेको हो । ‘हामीभन्दा जुनियर कर्मचारीलाई प्रशासन समूहको नाममा कार्यकारी बनाइएको छ । अन्य समूह वा प्राविधिक भएकै कारण अरू कर्मचारीले अगुवाइ गर्न नसक्ने हो र ?’ शिक्षाअन्तर्गतका एक उपसचिवले भने । स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले भने प्रशासनको दरबन्दी रहने व्यवस्था भएकाले अन्य समूहका कर्मचारीलाई कार्यकारी अधिकृत पठाउन नमिल्ने बताए । ‘अहिले कुनै नयाँ व्यवस्था होइन । पहिले पनि प्रशासन समूहकै कर्मचारी जिल्लामा स्थानीय विकास अधिकारी हुन्थे । उनीभन्दा वरिष्ठ भए पनि प्राविधिक समूहका कर्मचारी मातहतमै बसेर काम गरिरहेका छन्,’ थपलियाले अहिलेको विवादलाई ‘अनावश्यक बखेडा’को संज्ञा दिए । शिक्षा समूहमा केही विवाद देखिए पनि अन्य मन्त्रालयअन्तर्गतका प्राविधिकहरू कार्यालयमा खटिइसकेको थपलियाले बताए । स्थानीय तहलाई अधिकारसम्पन्न बनाएपछि जिल्लाका २ दर्जन कार्यालय समायोजन हुँदै छन् । सबै विषयवस्तु व्यवस्थापन गर्न स्थानीय तहमा शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपक्षी, भूमि व्यवस्थापन, पूर्वाधार विकास, प्रशासन, राजस्वलगायत महाशाखा/विभाग बनाउने तयारी छ ।
सामान्य प्रशासन मन्त्रालयकी सहसचिव नीता पोखरेल अर्यालले अहिले प्राविधिक कर्मचारीको विशिष्ट जिम्मेवारी हुने भएकाले प्रशासनको जिम्मेवारी दिन मिल्ने/नमिल्नेबारे पर्याप्त बहस पहिले नै भइसकेको जानकारी दिइन् । ‘मन्त्रालयगत रूपमा धेरै चरणमा छलफल भई यो निर्णय भएको हो,’ अर्यालले भनिन् । संविधानअनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनसम्बन्धी कानुन संसदबाट पारित भइनसकेका कारण सरकारले अन्तरिम व्यवस्थापन गर्न
लागेको हो ।
प्रशासन विज्ञ काशिराज दाहालले यो अन्तरिम व्यवस्थापन भएकाले कार्यकारी को रहने भन्ने विवाद झिक्न नहुने बताए । अधिकारसम्पन्न संघीय प्रशासनिक पुन:संरचना कार्यान्वयन समितिका संयोजकसमेत रहेका दाहालले समायोजन कानुन बनेपछि अहिलेको समस्या हल हुने बताए । ‘अहिले कर्मचारी समायोजन गर्न लागिएको होइन । तत्कालका लागि व्यवस्थापन गरिएको मात्र हो,’ उनले भने ।दाहालले कर्मचारी समायोजन विधेयकमा समायोजनका विभिन्न मापदण्ड रहेकाले शिक्षा समूह र प्राविधिक कर्मचारीमा देखिएको समस्या त्यसपछि सम्बोधन हुने बताए । ‘अहिले जे निर्णय भएको छ, समायोजनमा त्यो नजिर हुँदैन । त्यसैले विवाद गरेर स्थानीय तहको काममा बाधा पुर्‍याउनु हुन्न,’ उनले भने । सरकारले पारित गरेको आदेशमा कर्मचारी व्यवस्थापन स्थानीयस्तरमै गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचित जनप्रतिनिधिसहितको समिति बनाइएको छ । जिल्लास्थित समितिलाई कर्मचारी र भौतिक व्यवस्थापनबारे अध्ययन गरी केन्द्रमा पठाउने जिम्मेवारीसमेत दिइएको छ । स्थानीय तहमा कर्मचारी व्यवस्थापन मात्र नभई विभिन्न कार्यालयको जिम्मेवारीसमेत हस्तान्तरण भइरहेका छन् । कृषि तथा पशुसेवा केन्द्र र उपकेन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, आयुर्वेद औषधालय, शिक्षा केन्द्र र उपकेन्द्र, प्राथमिक स्वास्थ्य केन्द्रजस्ता कार्यालयको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण हुनेछन् । विभिन्न योजना र कार्यक्रमबाट सम्पन्न खानेपानी, सिँचाइ, महिला विकास, वन, भूसंरक्षण, भवन तथा सहरी विकास, नगर विकास समितिलगायत विकास निर्माण संरचनाका चल/अचल सम्पत्ति, बजेट, कार्यक्रम र कर्मचारी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा हस्तान्तरण हुनेछन् ।

गृह पृष्ठ

भारतको राष्ट्रपतिमा कोविन्द

- कमलदेव भट्टराई

नयाँदिल्ली– भारतको १४ औं राष्ट्रपतिमा ७१ वर्षीय दलित नेता रामनाथ कोविन्द निर्वाचित भएका छन् । कोविन्दलाई सत्तारूढ दल भारतीय जनता पार्टीले सोमबार भएको निर्वाचनमा उम्मेदवार बनाएको थियो । बिहीबार गरिएको मत गणनामा झन्डै दुईतिहाइ मत ल्याएर उनी निर्वाचित भएका हुन् । कोविन्दले ७ लाख २० हजार ४४ मत (भोट भ्यालु) पाए । उनका प्रतिद्वन्द्वी कांग्रेस गठबन्धनका उम्मेदवार मीरा कुमारले ३ लाख ६७ हजार १४ मत ल्याएकी थिइन् । भाजपा सदस्य राष्ट्रपतिमा निर्वाचित भएको यो पहिलोपटक हो । दलित समुदायबाट भारतको राष्ट्रपति बन्ने कोविन्द दोस्रो व्यक्ति हुन् । यसअघि केआर नारायणन भारतको पहिलो दलित राष्ट्रपति बनेका थिए । कोविन्द लामो सामाजिक/राजनीतिक आन्दोलनबाट खारिएका व्यक्ति हुन् । सन् १९४५ को अक्टोबर १ मा कानपुर नजिकको गाउँमा जन्मेका कोविन्द ५ दाजुभाइ र दुई दिदीबहिनीमध्ये कान्छा हुन् । उनले पहिले कानपुरस्थित कलेजमा कमर्स पढे । त्यसपछि कानुन पढ्न थाले । पढाइकै क्रममा भाजपा निकट राष्ट्रिय स्वयंसेवक संघमा समेत आबद्ध भए । दिल्ली आएर सरकारी सेवामा नाम निकाले पनि त्यो छोडेर वकालतमा लागेका थिए । वकालतका क्रममा उनी समाजवादी आन्दोलनका अगुवा मोराजी देसाईसँग निकट भए । संकटकाल अन्त्यपछि बनेको सरकारमा उनी देसाईको सहयोगी बने । सन् १९९१ मा उनी औपचारिक रूपमै भाजपा प्रवेश गरे ।
भाजपाले कोविन्दलाई उत्तर प्रदेशबाट पार्टीको दलित नेताका रूपमा अगाडि बढायो । सन् १९९४ मा उनी पहिलोपटक राज्यसभा सदस्य बने । सन् २००२ मा उनले भारतका तर्फबाट संयुक्त राष्ट्रसंघमा सम्बोधनसमेत गरेका थिए । उनी सन् २०१० मा भाजपाको राष्ट्रिय प्रवक्ता भए पनि मिडियासँग कमै बोल्ने गर्थे । उनले त्यही वर्ष उमा भारतीलाई पार्टीमा फर्काउन ठूलो भूमिका खेले । भारतीले अर्काे राजनीतिक दल खोल्न भन्दै सन् २००३ मा भाजपा छोडेकी थिइन् । कोविन्दले भारती र लालकृष्ण आडवाणीका बीच पनि मध्यस्थताको काम गरे । सन् २०१३ को लोकसभा निर्वाचनअघि उनलाई पार्टीको उत्तरप्रदेशको महासचिव बनाइयो । यो वास्तवमा उनको घटुवा थियो तर त्यसलाई उनले अन्यथा मानेनन् र पार्टीले दिएको जिम्मेवारी पूरा गरे । निरन्तरको लगन र मिहिनेतले अहिलेको उचाइमा पुगेको भन्दै भारतीय राजनीतिज्ञहरूले कोविन्दको प्रशंसा गरेका छन । प्रतिपक्षले समेत उनको विरोध गर्न सकेन । प्रजातान्त्रिक अभ्यासका लागि प्रतिपक्षले पनि बलियो उम्मेदवार दियो । यसले कोविन्दको उचाइ झनै बढायो । भारतको राष्ट्रपतिको पद संवैधानिक हो । यो पदको कार्यकारी हैसियत हुँदैन ।

Page 4
समाचार

शिjavascript:void(0);क्षा र स्थानीय विकास मन्त्रालयबीच विवाद

- कान्तिपुर संवाददाता

काठमाडौं– शिक्षा मन्त्रालयले पछिल्लो समय ७८ उपसचिवलाई स्थानीय तहमा खटायो। कतिपयलाई हातैमा पत्र थमाइयो । केहीलाई हुलाकबाट । सरुवा पत्र लिएर केही उपसचिव स्थानीय निकायमा पुगे । धेरैजसो अझै गएका छैनन् । गएका पनि केही दिन हाजिर भइसकेपछि कार्यकारी अधिकृत आफूभन्दा कनिष्ठ रहेको भन्दै फिर्ता भए । यसमध्येको बुढानीलकण्ठ नगरपालिकामा सरुवा भएका उपसचिव युवराज पौडेल पनि हुन् । उनले आफूभन्दा कनिष्ठ कार्यकारी अधिकृत रहेको भन्दै मन्त्रालयमै हाजिर हुने व्यवस्था गर्न निवेदन दिएका छन् । स्थानीय तहमा खटिने कर्मचारीको वरिष्ठ र कनिष्ठको व्यवस्थापन गर्न नसकेपछि विवाद संसदीय समितिसम्म पुगेको छ । शिक्षा मन्त्रालयबाट कर्मचारी स्थानीय निकायमा नगएपछि संसदको विकास समितिले बिहीबार संघीय तथा स्थानीय विकास र शिक्षा मन्त्रालयका सचिवलाई बोलाएर छलफल गरेको थियो । दुवै मन्त्रालयबाट खटाइएका कर्मचारी समान पदका भए पनि उपसचिव वा अधिकृत भएको मिति अघिपछिलाई आधार मानेर वरिष्ठता विवाद भएको छ । कार्यकारी अधिकृत कनिष्ठ र अन्य मन्त्रालयबाट खटिने शाखा प्रमुख वरिष्ठ हुने भएपछि समस्या देखिएको हो । शिक्षा र स्थानीय विकास मन्त्रालयका सचिवबीच यही विषयमा समितिमा चर्काचर्की भयो ।
कर्मचारी संघसंगठनले समेत वरिष्ठ र कनिष्ठको व्यवस्थापन नगरे आन्दोलन गर्ने र खटाएको ठाउँमा नजाने चेतावनी दिएका छन् । संघसंगठनले स्थानीय तहमा हाजिर भई काम गर्न थालेका कर्मचारीलाई फर्कन धम्कीसमेत दिइरहेका छन् । कतिपयलाई सरुवा बुझ्नसमेत दिइएको छैन ।
साउन १ देखि स्थानीय तहमा काम सुरु भए पनि शिक्षा मन्त्रालयले कर्मचारी व्यवस्थापन नगर्दा शिक्षाका काम ठप्प भएको स्थानीय विकास सचिव दिनेश थपलियाले बताए । स्थानीय तहको कार्यकारी अधिकृतको पद प्रशासन सेवा र समूहकै हुनुपर्ने व्यवस्था भएको बैठकमा थपलियाले अडान लिएका थिए । यो व्यवस्थाअनुसार कार्यकारी अधिकृत अन्य सेवाको भन्दा वरिष्ठ या कनिष्ठ दुवै हुन सक्ने उनले बताए । स्थानीय तहको मेयर या प्रमुख हुने भएकाले कर्मचारीले यस्तो विवाद गर्न नहुने उनको तर्क थियो । शिक्षा मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद गौतमले कार्यकारी अधिकृत कनिष्ठ भएकाले शिक्षाबाट खटिने वरिष्ठ कर्मचारीले काम गर्न नसक्ने बताए । थपलिया र गौतम बीच कर्मचारीको विषयलाई लिएर समितिमा चर्काचर्की भएको थियो ।
‘हामीले बुढानीलकण्ठ नगरपालिकामा ०६६ मा उपसचिव बढुवा भएका कर्मचारीलाई स्थानीय शिक्षा अधिकारी बनाएर पठायौं । नगरपालिकामा कार्यकारी अधिकृत ०७२ मा बढुवा भएका उपसचिव रहेछन्,’ गौतमले भने, ‘शिक्षाका कर्मचारी स्थानीय तहमा जान तयार छन्, तर सिनियर र जुनियर मिलाएर मर्यादा कायम गरिदिनुपर्छ ।’ धेरैजसो गाउँपालिकामा नासुले निमित्त कार्यकारीको जिम्मेवारी चलाइरहेका बेला शिक्षाबाट अधिकृत पठाउँदा काम गर्न
अप्ठ्यारो हुने भन्दै गौतमले आफ्ना कर्मचारीको बचाउ गरे । ‘२ सय अधिकृत गाउँपालिकामा पठाउँछौं तर सुब्बाको मातहतमा पठाउन सकिँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा उच्च मनोबलका साथ काम गर्न सक्दैनन् ।’ स्थानीय तहमा जान निवेदन दिएर बसेका कर्मचारीको संख्या ठूलो भए पनि कनिष्ठ कर्मचारीमातहत राख्न खोजिएकामा विरोध रहेको उनले बताए । शिक्षा मन्त्रालयका निमित्त सचिवको जवाफ दिँदै स्थानीय विकास मन्त्रालयका सचिव थपलियाले स्थानीय तहमा कर्मचारी खटाउने मन्त्रिपरिषदको निर्णय र विधिलाई स्मरण गर्न आग्रह गरे । ‘जो सिनियर छ त्यही कार्यकारी हुन्छ भन्नु नै गलत हो,’ उनले भने, ‘यसअघि स्थानीय विकास अधिकारी जुनियर र इन्जिनियर सिनियर हुन्थे । इन्जिनियर कहिल्यै स्थानीय विकास अधिकारी भएनन् । निमित्तसम्म हुन सक्थे ।’
शिक्षाका सहसचिव र निमित्त सचिवले स्थानीय कार्यकारी अधिकृतको मातहतमा सिनियर कर्मचारीले काम गर्न नसक्ने बताए भने सचिव थपलियाले संक्रमण कालमा सिनियर, जुनियर भन्ने नै नहुने बताए । ‘संविधानले स्पष्ट रूपमा माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहमा दिइसकेकाले विषयगत जनशक्ति हस्तान्तरणमा ढिलाइ गर्न हुँदैन,’ उनले भने, ‘सरकारको निर्णयबमोजिम कार्यकारी अधिकृतको दरबन्दी र जिम्मेवारीसम्बन्धी व्यवस्थापन गरिएको हो ।’ स्थानीय सरकारमातहत कर्मचारी व्यवस्थापन गर्ने कुरालाई लिएर शिक्षालाई संघीयता विरोधी भनेर चित्रित गर्न खोजिएको भन्दै गौतमले विरोध गरे । कार्यकारी चयनको अधिकार मेयर/प्रमुखलाई नै दिन सकिने उनले अर्को विकल्प अघि सारे । स्थानीय विकास मन्त्रालयले आफूलाई सर्वज्ञाता नठानी संघीयताका विषयमा अरूले पनि जान्दछन् भन्ने चुनौती गौतमले दिए । शिक्षाले स्थानीय मन्त्रालयले गरेको कामको विरोध गरेपछि थपलियाले शिक्षाका सचिव स्थानीयमा र स्थानीयका सचिव शिक्षामा सरुवा हुन सक्ने हेक्का राख्दै मर्यादित हुन आग्रह गरे । शिक्षाविद् मनप्रसाद वाग्लेले मन्त्रालयबीचको असमझदारी हटाउन शिक्षा, स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालयका सदस्य रहने गरी संयुक्त कार्यदल बनाउन सुझाव दिए । सांसद बैजनाथ चौधरीले शिक्षाको गुणस्तर कसरी सुधार गर्ने भन्ने बहस हुनुपर्नेमा कर्मचारीको पदीय मर्यादा र कसरी इज्जत बचाउने भन्ने विवादले शिक्षालाई थप तहसनहस बनाउने बताए । अर्का सांसद आङदावा शेर्पाले सिनियर र जुनियरको समस्या समाधान गर्न सिनियरलाई सुविधा दिएर हटाउन सरकारलाई सुझाव दिए । विकास समितिले स्थानीय निकायमा मर्यादा कायम राखेर कर्मचारी व्यवस्थापन गर्न मन्त्रालयहरूलाई निर्देशन दिएको छ । समितिको निर्देशनअनुसार स्थानीयमा खटिएका कर्मचारीभन्दा जुनियरलाई मात्रै शिक्षाले पठाउनुपर्ने हुन्छ । ‘स्थानीय तहमा तत्काल शिक्षाका कर्मचारी जाने वातारण बनाउनुपर्छ,’ शिक्षा र स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति रवीन्द्र अधिकारीले भने, ‘समयमा कर्मचारी पठाउँदा मर्यादा र तहमा ध्यान दिँदै छिटो निष्कर्ष निकालेर शिक्षाका कर्मचारी पठाउन ढिला हुनु हुँदैन ।’ कनिष्ठ र वरिष्ठको विवाद समाधान गर्न कार्यदल गठन गर्न समितिले निर्देशन दिएको छ ।

समाचार

कर्मचारी नहुँदा कस्तो असर ?

माध्यमिक तह (१२ कक्षा) सम्म व्यवस्थापन गर्न स्थानीय तहलाई दिएको अधिकार साउनदेखि कार्यान्वयन गर्न सरकारले बजेट पठाइसकेको छ । असारसम्म जिल्ला शिक्षा कार्यालयले गर्ने सबै अधिकार साउनदेखि स्थानीय तहलाई हस्तान्तरण भएको छ। तर, कर्मचारी खटिएका छैनन् । स्थानीयमा शिक्षा कर्मचारी नहुँदा सर्वसाधारणले सामान्य सिफारिस लिनसमेत वञ्चित हुने भएका छन् । विद्यालयमा दरबन्दी खाली भएको ठाउँमा नियुक्ति गर्नसमेत समस्या हुने भएको छ । विद्यालयको ठाउँसारी, नामसारी गर्न सकिँदैन । कतिपय विद्यायलमा प्रध्यानाध्यापक पद खाली छ । नियुक्ति गर्न सकिँदैन । व्यवस्थापन समिति गठन, विद्यालय खाता सञ्चालन, खाता रोक्काको कामसमेत रोकिने भएको छ । शिक्षकको तलब भत्ता, विद्यालय व्यवस्थापन अनुदान, छात्रवृत्ति, पाठ्यपुस्तक, शैक्षिक कार्यक्रम अनुदान स्थानीय तहमा पठाएको छ । यसअघि चौमासिक रूपमा शिक्षकलाई दिने तलब मासिक रूपमा दिने हो भने पनि स्थानीयमा शिक्षाकै कर्मचारी आवश्यक हुन्छ ।

 

समाचार

‘अधिकारबिना स्थानीय तहमा जानु औचित्यहीन’

- कान्तिपुर संवाददाता

काठमाडौं– निर्वाचन भइसकेका स्थानीय तहमा कर्मचारी खटाउने वन मन्त्रालयको योजना एक महिनादेखि यता न उता भएको छ । वनका कर्मचारीले स्थानीय तहमा आफ्नो कुनै अधिकारै नभएको भन्दै जान आनाकानी गरेका हुन् ।
कर्मचारी संगठन र पेसागत संस्थाहरूले पनि ‘अधिकारविहीन’ बनाएर स्थानीय तहमा कर्मचारी परिचालन गर्न नहुने भन्दै जसरी हुन्छ त्यो रोक्न जोडबल गरिरहेका छन् । वनको काम अरू मन्त्रालयभन्दा भिन्न प्रकृतिको भएकाले ‘हचुवाका भरमा’ हतार गरेर कर्मचारी परिचालन गर्न नहुने जिकिर संगठन र पेसागत संस्थाका अधिकारीहरूको छ ।
‘वनको काम अरू मन्त्रालयको जस्तो विकास गर्ने मात्र होइन,’ नेपाल वन प्राविधिक संघ (एनएफए) का अध्यक्ष शेखर यादवले प्रश्न गरे, ‘वनले अर्धन्यायिक निकायका रूपमा थुनछेक, अनुसन्धान र अतिक्रमण रोक्ने लगायतका काम पनि गर्दै आएको छ, तर त्यो अधिकार अन्यत्रै मर्ज गरियो भने हामीले त्यहाँ गएर के गर्ने ?’ स्थानीय तहमा वनको भूमिका के हुने भनेर किटान नभएको अवस्थामा वनका कर्मचारी परिचालन गरिए ‘बेकामे’ हुने तर्क यादवको छ । ‘अन्य विकासको काम सँगै गर्न सकिए पनि वनले गर्दै आएको विशुद्ध प्राविधिक काम, अतिक्रमण रोक्ने काम, सखापै हुन लागेको जंगल जोगाउने काम त वनको हो,’ यादवले भने, ‘तर, स्थानीय तहमा वनको कुनै भूमिकै नरहने भएपछि अहिले कर्मचारी गएर के गर्नु ?’
यादवले संविधानको अनुसूची ६ (१९) मा वनजंगल, उपयोग र वातावरण व्यवस्थापनलगायतलाई प्रदेशअन्तर्गत राखिएकाले स्थानीय तहमा कर्मचारी परिचालन गर्न हतार गर्नु उपयुक्त नभएको जिकिर गरे । निजामती कर्मचारी संगठनको वन विभागीय कार्यसमितिका अध्यक्ष पदम सुवेदीले वनका कर्मचारीलाई कारिन्दा मात्र हुने गरी स्थानीय तहमा पठाउन नहुने आफूहरूको जोड भएको बताए । ‘जान्नौं भन्ने होइन,’ सुवेदीले भने, ‘अधिकारसहित कर्मचारी पठाइनुपर्छ भन्ने हो ।’ प्राविधिक कर्मचारी स्थानीय तहमा जाने अनि वन विनाश भइरहँदा, चोरी सिकार भइरहँदा र जंगलै सखाप पारिरहँदा त्यसमा वनका कर्मचारीको कुनै भूमिका नतोकिए त्यहाँ जानुको अर्थ नरहने वनका कर्मचारीहरूको भनाइ छ । वन कार्य समितिका पूर्वअध्यक्ष विश्व काफ्लेले स्थानीय तहमा कर्मचारी पठाइँदा ‘समान दायित्व र अधिकार’ हुनुपर्छ भन्ने कुरामा ख्याल गर्नुपर्ने सुझाए । ‘अधिकार जति माथि राखेर तिमीहरू तल जाऊ भनेर मात्र हुँदैन,’ काफ्लेले प्रश्न गरे, ‘अवसर सबैले पाउने कि नपाउने ?
वन मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले वनलाई एकल अधिकार नदिइएकाले कर्मचारी परिचालनमा समस्या उत्पन्न भएको बताए । ‘स्थानीय तहमा साझा अधिकार तोकिएको छ, वनको अधिकारको सूची स्पष्ट छैन,’ पौडेलले भने, ‘साथीहरू (कर्मचारी)ले अहिले त्यसैमा जोड दिएका छन्, हामी छलफलमै छौं ।’
कर्मचारी पठाउने अनि भोलि गएर अधिकार बाँडफाँडमा समस्या उत्पन्न हुन सक्ने भय उत्तिकै देखिएको पौडेलले बताए । पहिलो चरणमा मन्त्रालयले जिल्ला, इलाका र स्थानीय तहसमेत हेर्नेगरी कर्मचारी परिचलान गर्न खोजेको छ । तर अहिलेसम्म यो विवाद टुंगिएको छैन ।
मन्त्रालयको प्रशासन महाशाखा प्रमुख ज्ञानेन्द्र पौडेलले भने कतिपय कर्मचारी छाडा भएर फेसबुकलगायतका सामाजिक सञ्जालमा कर्मचारी परिचालनबारे नाजायज हल्ला फैलाइरहेको बताए । ‘विभागबाट कर्मचारी परिचालनका लागि आदेश पनि गएको छ,’ उनले भने, ‘संघीयतामा वनको संरचनाबारे छलफल पनि भइरहेको छ ।’ मन्त्रालयले महानगरपालिका र नगरपालिकामा वन, वनस्पति, निकुञ्ज, अनुसन्धान र भूसंरक्षणका उपसचिव तथा गाउँपालिकामा अधिकृतस्तरका प्राविधिक कर्मचारी पठाउन खोजेको छ ।

 

समाचार

सडकको दुरवस्थाप्रति सांसदहरूको आक्रोश

- कान्तिपुर संवाददाता

काठमाडौं– सडक निर्माण र विस्तारमा भएको लापरबाहीका कारण नालीमा बगेर बालिकाको ज्यान जानेसम्मका घटना भएपछि संसद्, संसदीय समिति र सांसदहरूबीच भौतिक पूर्वाधार तथा यातायात सहरी विकास मन्त्रालयका काम एकीकृत योजना र सुरक्षा मापदण्डअनुरूप गराउनुपर्ने विषयमा बहस सुरु भएको छ ।
संसद्को बैठकमा बिहीबार विशेष समय लिएर बोल्ने अधिकांश सांसदहरूले खानेपानीको पाइप बिछ्याउन र विस्तारका लागि भत्काइएका सडक तत्कालै जोखिममुक्त बनाउन माग गरे । संसद्को सार्वजनिक लेखा समितिले बिहीबारै मुख्य सचिवसहितका उच्च प्रशासनिक अधिकारीसँग छलफल गरी राजधानीको अवस्था सुधार्ने उपाय खोजी गरेको हो ।
राजधानीको मनमैजुमा गत शुक्रबार ९ वर्षीया बालिका विनीता फुयालको नालीमा बगेर मृत्यु भएको थियो । त्यस क्षेत्रमा ढल राख्ने क्रममा बीचमै छाडिएको खाल्डोका कारण बालिकाको ज्यान जाँदा पनि ठेकेदार, ठेक्का दिने निकाय, निर्माणको निरन्तर अनुगमन गर्नुपर्ने प्राविधिक कसैलाई पनि जिम्मेवार बनाएर कारबाही गरिएको छैन । त्यसै क्षेत्रको प्रतिनिधित्व गर्ने कांग्रेस सांसद भीमसेनदास प्रधानले मृतक बालिका विनीता फुयालको स्मृतिमा अक्षयकोष स्थापनार्थ एक महिनाको पारिश्रमिक दिने घोषणा गरे । राजधानीका सडकहरू धरापमा परिणत भएको उल्लेख गर्दै प्रधानले तत्कालै सुधारको माग गरे । बालिकाको ज्यान जानुमा ठेकेदार कम्पनी दोषी रहेको उल्लेख गर्दै नेमकिपाकी सांसद अनुराधा थापामगरले भने पीडित परिवारलाई लापरबाही गर्ने ठेकेदारबाटै क्षतिपूर्ति भराउन माग गरिन् ।
लेखा समितिका सदस्यहरूले सहरी पूर्वाधार निर्माणको काम गरिरहेका सरकारी निकायबीच समन्वय अभावमा एउटा निकायले खनेको सडक पुनर्निमाणको काम नसकिँदै अर्कोले खन्ने नियति नदोहोर्‍याउन सरोकारवाला निकायहरूको ध्यानकर्षण गराए । सहरी पूर्वाधार निर्माणको एकीकृत योजना र समन्वय अभावमा राजधानीका सडक जोखिमपूर्ण भएको निष्कर्ष निकाल्दै लेखा समितिले समस्या समाधानका लागि स्थानीय तहका नवनिर्वाचित प्रतिनिधि र सरोकारवाला सरकारी निकायका अधिकारीहरूसहितको अर्को बैठक डाकेको छ । समितिका सदस्य रामहरि खतिवडाका अनुसार आइतबारको बैठकमा काठमाडौं र ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाका प्रमुख/उपप्रमुखलाई आमन्त्रण गरिएको छ । कम्तीमा ५ वर्षको एकीकृत योजना तय गर्न सुझाव दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेलले समयमा काम नगर्ने र बीचैमा काम छाडेर अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया प्रभावकारी बनाउन सरकारलाई सुझाव दिए ।
मेलम्ची खानेपानी आयोजनाको पाइप पुर्ने प्रयोजनका लागि राजधानीका अधिकांश सडक खनिएका छन् । खनिएका सडक पुर्ने काम नसकिँदै विद्युत् र सञ्चारका तारहरू जमिनमुनि गाड्ने काम सुरु हुन लागेका कारण राजधानीको हिलो र धूलोको समस्या जस्ताको तस्तै रहने अवस्था छ । ‘घाम लागे धूलो, पानी परे हिलो, कतिन्जेल रहने,’ कांग्रेस सांसद खतिवडाले भने । उनले सरकारी निकायबीच समन्वय नहुँदा सडकमा मर्मत तथा निर्माणमा ढिलाइ भएको बताए । ‘सबै काममा प्रधानमन्त्रीको निर्देशन नै चाहिन्छ ? सडक निर्माण गर्नेजस्ता सानातिना काम गर्न पनि प्रधानमन्त्रीले बोल्नुपर्ने ?’ उनले भने । प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न निर्देशन दिएका थिए ।
सांसद राजन केसीले कलंकी–नागढुंगालगायतका सडकको अवस्था नाजुक भएको बताए । ‘मर्मत नगरी किन भत्काउँछौं सडक, यो त जनतालाई सास्ती दिने काममात्र भयो,’ उनले भने, ‘चाँडो मर्मत तथा विस्तार गर्न पहल गर्नुपर्‍यो ।’ उपत्यका विकास प्राधिकरण प्रमुख आयुक्त भाइकाजी तिवारीले मुआव्जा समस्याले सडक विस्तारमा समस्या भएको बताए । ‘प्रत्येक स्थानमा मुआव्जा समस्या छ, अर्थले मुआव्जाका लागि बजेट निकासा गरिदिनु पर्‍यो ।’
विधेयकहरू समितिमा
संसद्ले स्थानीय सरकार सञ्चालनसँग सम्बन्धित ४ विधेयक अघि बढाएको छ । संसद्ले बिहीबार स्थानीय शासन, कर्मचारी समायोजन, अन्तर सरकारी वित्त व्यवस्थापन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको हो ।
सम्बन्धित समितिहरूले संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूलाई समेत आमन्त्रण गरी दफावार छलफल गर्नेछन् । समितिको सक्रियता, सम्बन्धित विभागीय मन्त्रीहरूको प्राथमिकता र संशोधनकर्ता सांसदहरूको तदारुकताले समितिबाट विधेयक पारित हुन लाग्ने समय यकिन (लामो/छोटो) हुन्छ । यी कानुन अभावमा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले काम थाल्न पाएका छैनन् ।
संसद्मा बिहीबारै सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक र प्रदेशसभा सदस्य निर्वाचन विधेयक पेस गरेको छ । सरकारले संघीय संसद्को निर्वाचनका लागि आवश्यक राष्ट्रियसभाका सदस्य निर्वाचन विधेयकको मस्यौदा भने तयार गरेको छैन ।
निर्वाचनसम्बन्धी विधेयकहरू छिटो अघि बढाउन माग गर्दै प्रमुख प्रतिपक्षी एमाले नेता भीम रावलले सरकारी रवैयाकै कारण संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा संशय रहेको आरोप लगाए । ‘सरकारको चरित्र निर्वाचनप्रति जनतालाई आश्वस्त गर्ने खालको छैन,’ रावलले विहीबार संसद्मा भने, ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक अझैसम्म किन दर्ता नगरेको ?’ संसद्मा विचाराधीन विधेयकहरू छिटो पारित गरी स्थानीय तहलाई काम गर्ने वातावरण बनाउन पनि उनले माग गरे ।
सत्तारुढ माओवादी केन्द्रका सांसद जनकराज जोशीले स्थानीय तह शासन सञ्चालनका लागि कार्यकारी आदेश जारी गर्ने अभ्यासको गलत नजिर नबसाउन माग गरे । स्थानीय तह कानुनी शून्यताका अवस्थामा रहेको उल्लेख गर्दै जोशीले यस्तो बेला सरकारले जारी गर्ने कार्यकारी आदेशलाई संसदको सामान्य बहुमतबाट पारित गर्ने नयाँ परिपाटी बनाउन प्रस्ताव गरे । ‘त्यसो गरिएन भने आजको सहजताका लागि जारी आदेशले भोलि विकराल अवस्था सिर्जना हुन्छ,’ उनले भने ।

 

समाचार

‘खाल्डाखुल्डी तीव्र रूपमा पुरिँदै’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपत्यकाका सडकमा भएका खाल्डाखुल्डी पुर्ने काम तीव्र रूपमा अघि बढिरहेको दाबी गरेको छ । लेखा समिति बैठकमा जवाफ दिँदै मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडकलाई विभिन्न भागमा बाँडेर पुर्ने काम भइरहेको बताए । ‘खानेपानीको पाइप बिछ्याउन र सडक विस्तारका लागि सडक खनिएका छन्,’ उनले भने, ‘मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।’ मेलम्ची खानेपानीअन्तर्गतका आयोजना कार्यान्वयन निर्देशनालय, उपत्यका सडक डिभिजन कार्यालय, सडक विस्तार आयोजना र उपत्यका विकास प्राधिकरणले भत्किएको सडक मर्मत गर्ने काम भइरहेको उनले बताए । बैठकमा मुख्य सचिव राजेन्द्रकिशोर क्षत्री, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरे, अर्थ सचिव शान्तराज सुवेदी, उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीलगायतको उपस्थिति थियो । अर्थ सचिव शान्तराज सुवेदीले सडक अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाको क्षतिपूर्ति दिन नसकिने बताए । ‘कसैले सडकको जग्गा मिचेर बनाएको छ, त्यसलाई क्षतिपूर्ति, जग्गा अधिग्रहण गर्दा मुआब्जा तथा क्षतिपूर्ति माग्छ भने त्यो दिन सकिँदैन,’ उनले भने, ‘सरकारले त्यो दिन सक्ने अवस्था पनि छैन ।’ मध्यमाञ्चल क्षेत्रीय सडकका निर्देशक शिवहरि सापकोटाले रातदिन गरेर उपत्यकामा खाल्डाखुल्डी टाल्ने काम भइरहेको बताए । उनका अनुसार थापाथली–माइतीघर, गौशलाबाट जय बागेश्वरीलगायत विभिन्न स्थानको सडक मर्मत गर्ने काम भइरहेको छ ।

 

Page 5
समाचार

अब अन्तर्घात नहोस् : देउवा

प्रदेश २ को कांग्रेस भेला

काठमाडौं (कास)– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनावमा पार्टीभित्रैबाट अन्तर्घात भएको उल्लेख गर्दै असोज २ मा हुने चुनावमा त्यस्तो गलत क्रियाकलाप नगर्न निर्देशन दिएका छन् । राजधानीमा बिहीबार सुरु भएको प्रदेश–२ का जिल्ला सभापति, केन्द्रीय सदस्य र सांसदको भेलालाई सम्बोधन गर्दै देउवाले अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताए । ‘पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्नबाट वञ्चित भयो,’ सभापति देउवाले भने । प्रदेश २ मा कांग्रेसको अवस्था राम्रो रहेको उल्लेख गर्दै उनले त्यो स्थितिलाई दायाँबायाँ हुन नदिन पनि सचेत गराए । दुई चरणको चुनावबाट पार्टीको अवस्था खस्केकाले त्यसलाई तेस्रो चरणले पूर्ति गर्नुपर्ने धारणा देउवाको थियो । अघिल्लोपटक अन्तिम समयमा टिकट वितरण भएका कारण पनि केही समस्या उत्पन्न भएकाले अब छिट्टै उम्मेदवार छनोट गरेर जित्ने अभियानमा लाग्ने देउवाले बताए । उनले चुनावमा टिकट सबैले पाउने अवस्था नरहने उल्लेख गर्दै टिकट नपाउनेबित्तिकै पार्टीलाई अन्तर्घात गर्न खोज्नु गलत भएको बताए । ‘यस्तालाई कारबाही नगरेसम्म पार्टी अघि बढ्न सक्दैन, पार्टीले कारबाहीको दायरामा ल्याउँछ,’ देउवाले भने, ‘टिकट नपाए पनि पार्टीमा अर्को जिम्मेवारी पाइन्छ भनेर सबै लाग्नुपर्‍यो ।’ जिल्ला सभापति र अन्य नेताहरूले राखेका जिज्ञासा र सवालहरूलाई पार्टीले सम्बोधन गर्ने देउवाले बताए । भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पार्टीभित्रकै कमीकमजोरीका कारण दुई चरणका चुनावमा पराजय बेहोर्नुपरेको बताए । उम्मेदवारी चयनमा कमजोरी भएकाले पनि धेरै सिट गुमाउनुपरेको पौडेलको भनाइ थियो । दुई चरणको चुनावमा भएको क्षतिलाई तेस्रो चरणमा पूर्ति गर्ने प्रतिबद्धतासहित जिल्ला–जिल्लामा खटिन उनले सबैलाई आग्रह गरे । ‘कांग्रेस मधेसबाटै जन्मिएको पार्टी हो, त्यसैले प्रदेश २ ले नै यसलाई पुन: पहिलो पार्टी बनाउनेछ,’ पौडेलले भने, ‘जित्ने अवस्था ल्याउन तल्लो तहबाटै टिकट वितरण गर्न सक्नुपर्छ ।’
महामन्त्री शशांक कोइराला, नेता कृष्ण सिटौला र विमेलन्द्र निधिले पनि तेस्रो चरणमा हारको क्षतिपूर्ति गर्नुपर्ने धारणा राखे । कोइरालाले जनताले कांग्रेसलाई नहराउने बताउँदै असन्तुष्टहरूलाई प्रदेश र प्रतिनिधिसभाको चुनावमा व्यवस्थापन गर्न सकिने आश्वासन दिए । जिल्ला सभापतिहरूले संविधान संशोधनलगायतका मुद्दालाई टुंगोमा पुर्‍याएर चुनावमा जाँदा स्थिति अझै अनुकूल हुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
‘चुनावका लागि सहज वातावरण बनाउन सरकारले पनि ध्यान देओस् र पार्टीले चुनावसम्बन्धी विशेष अभियान जिल्लामा लैजाओस् भन्ने सुझाव आएको छ,’ सांसद रामकृष्ण यादवले भने, ‘पार्टी नेताहरूले सुझाव कार्यान्वयन गर्ने आश्वासन दिनुभएको छ ।’ संविधान संशोधनलगायतका विषय उठेपछि नेताहरूले त्यसलाई पनि सम्बोधनका क्रममा स्पष्ट पारेका थिए । नेता पौडेलले संविधानको पक्ष र विपक्षमा को छन् भन्ने देखाउनका लागि भए पनि संशोधन प्रस्तावलाई प्रक्रियामा अघि बढाउन जरुरी रहेको बताएका थिए । कोषाध्यक्ष सीतादेवी यादव र सिटौलाले पनि संविधान संशोधन विधेयकलाई अघि बढाउन जरुरी रहेको बताए । प्रक्रिया अघि बढे प्रमुख प्रतिपक्षी एमाले पनि पक्षमा उभिन सक्ने उनीहरूको दाबी थियो ।
नेता विमलेन्द्र निधिले तेस्रो चरणको चुनावबाट पहिलो पार्टी बन्नका लागि प्रदेश २ का १ सय २७ स्थानमध्ये एक सय स्थान कांग्रेसले जित्नु आवश्यक रहेको भन्दै त्यस अनुसारको रणनीति बनाउनुपर्ने बताए । उनले बेलैमा उम्मेदवार चयन गरेर चुनावी तयारीमा लाग्ने नीति पार्टी केन्द्रले अघि बढाउनुपर्ने पनि बताए ।
भेलामा सहभागीहरूले टिकट वितरण पारदर्शी नहुने, नेताहरूको स्वार्थ जोडिने लगायतका गुनासा गरेका थिए । स्थानीय स्थिति मूल्यांकन गर्नेभन्दा पनि माथिबाट लाद्ने शैलीले पनि चुनावको परिणाम राम्रो नआउने उल्लेख गर्दै प्रदेश–२ मा त्यस्तो गल्ती नदोहोर्‍याउन नेतृत्वको ध्यानाकर्षण गराए । केन्द्रबाटै चुनाव परिचालन गर्नुपर्ने र केन्द्रीय नेताहरू जिल्ला–जिल्लामा खटिनुपर्ने सुझाव उनीहरूले दिएका थिए । प्रदेश–२ को चुनावी रणनीति नै बनाउन आयोजित भेला शुक्रबारसम्म चल्नेछ । आएका सुझाव समेटेर चुनावी रणनीति तयार पारिने कांग्रेसले जनाएको छ ।

 

समाचार

सुवेदीलाई राजीनामा गर्न लगाइयो

काठमाडौं (कास)– सरकारले सोमलाल सुवेदीलाई मुख्य सचिवबाट राजीनामा गर्न लगाउनुका साथै उनलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णयसमेत खारेज गरिदिएको छ । सुवेदी बढी पेन्सनका लागि आफ्नो मुख्य सचिव पद अतिरिक्त समूहमा राखी एसियाली विकास बैंकमा वैकल्पिक कार्यकारी निर्देशकमा जागिर खान फिलिपिन्स गएका थिए । थप तीन वर्ष सेवा गरे बराबरको पेन्सन बढाउन उनी राजीनामा नदिई मनिला गएका हुन्। राजीनामा नदिँदा अवकाशपछि उनले झन्डै ४५ सय रुपैयाँ बढी पेन्सन पाउने थिए । सरकारले उनको पद अतिरिक्त समूहमा राखी एडीबीमा जान स्वीकृति दिए पनि निजामती प्रशासनको सर्वोच्च पदमा रहेकै व्यक्ति पद अतिरिक्त समूहमा राखी जागिर खान गएकामा चर्को विरोध भएपछि राजीनामा दिन लगाएको प्रधानमन्त्री निकट स्रोतले बतायो । सुवेदीले बुधबार मुख्य सचिव पदबाट राजीनामा दिएका हुन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनको राजीनामा स्वीकृत गरी अतिरिक्त समूहमा राखिएको मुख्य सचिव पदसमेत खारेज गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Page 6
उपत्यका

मापदण्डविपरीत भवनलाई महानगरको अनुमति

- दामोदर न्यौपाने
हनुमानढोका दरबार क्षेत्रमा पुरातात्त्विक मापदण्डविपरीत बन्दै गरेको भवन ।तस्बिर : कान्तिपुर
  • काठमाडौं– काठमाडौं महानगरपालिकाले विश्वसम्पदा सूचीको हनुमानढोका दरबार क्षेत्रभित्र मापदण्डविपरीत भवन बनाउन अनुमति दिएको छ । दरबार क्षेत्रको ‘प्रोपर्टी जोन’ मा महानगरपालिकाले भवन बनाउन अनुमति दिएको हो । महर्जन बिजनेस एसोसिएसन प्रालिको नाममा महानगर २४ को कित्ता नम्बर ९४२ मा भवन निर्माण रोक्न पुरातत्त्व विभागअन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डाले पत्राचार गरेको छ । पहिला क्रिस्टल होटल रहेको स्थानमा बन्न लागेको व्यावसायिक कम्प्लेक्सको स्वामित्व कृष्णलाल महर्जनको नाममा छ । मापदण्डअनुसार विश्वसम्पदा सूचीका क्षेत्रमा ३५ फिटभन्दा अग्ला संरचना बनाउन पाइँदैन । तर उक्त भवन जमिनमुनिसहित ३ तला बनिसक्दा ३५ फिट नाघिसकेको छ । पहिलेको भवनजत्रै बनाउन महर्जनले अनुमति मागेका छन् । मापदण्डविपरीत भवन बन्न लागेपछि पुरातत्त्व विभागका अधिकृत देवेन्द्र भट्टराईले निर्माण रोक्का गरी विभागमा उपस्थित हुन पत्र काटेका छन् । ‘पुरानो घर भत्काई नयाँ निर्माण गर्ने क्रममा प्लिन्थ लेबल, पहिलो तला र दोस्रो तलाको उचाइ तथा कुल उचाइ मापदण्ड तथा स्वीकृत नक्सामा तोकिएभन्दा बढी हुने गरी निर्माण हुँदै गरेको देखिन आएकाले तत्काल निर्माण रोकी विभागमा सम्पर्क राख्न अनुरोध गर्दछु ।’जमिनमुनि बनाउने बेलामै मापदण्डविपरीत भएको भन्दै पुरातत्त्वले महानगरलाई पत्राचार गरेको थियो तर काम रोकिएन । ‘पुरातात्त्विक मापदण्डविपरीत भएकाले रोक्न हामीले महानगरलाई पत्राचार गर्‍यौं,’ हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मीले भनिन्, ‘तर काम रोकेर कारबाही गरेको जानकारी हामीलाई दिइएन । उल्टै भवनको तला थप्ने काम भइरह्यो ।’ विश्वसम्पदा क्षेत्रमा अन्डरग्राउन्ड संरचना बनाउन नपाइने नकर्मीले बताइन् । ‘हामीले जमिनमुनिका संरचना बनाउन पाइँदैन भनेर त्यतिबेलै भनेका थियौं,’ नकर्मी भन्छिन्, ‘तर अन्डरग्राउन्ड संरचना बनाइयो । कि अग्लो बनाउन दिनुस्, नत्र अन्डरग्राउन्ड बनाउन दिनुस् भन्ने माग घरधनीको थियो । यी दुवै गर्न मिल्दैन ।’दरबारसँगै जोडिए पनि जमिनमुनि डोजर लगाएर भवन बनाइएको थियो । त्यस क्रममा पुरातात्त्विक संरचनाको जग हल्लिने, पुराना धारा सुक्ने जस्ता समस्या आउने नकर्मीले बताइन् । ‘हामीले महानगरलाई पनि पत्र काटेर मापदण्ड सम्झाइदियौं,’ नकर्मी भन्छिन्, ‘त्यसैअनुसार महानगरले नक्सा पास गरोस् । नत्र विश्वसम्पदालाई असर गर्छ ।’ सर्वसाधारणले पूजा गर्दै आएको गणेश र कुमारीको मन्दिरसमेत यही घरभित्र परेको थियो । घर भत्काउने क्रममा कुमारीको मूर्ति जोगाइदिन स्थानीयवासीले माग गरेका थिए । तर मन्दिर पुरिन लागेपछि सर्वसाधारणले मूर्तिबारे चासो राख्दा कुमारी र गणेशको मूर्ति घरभित्र पारेको पत्ता लागेको थियो । स्थानीयवासीले यसबारे खोजी गर्न पुरातत्त्व विभागमा गत वर्षको असार ८ मा उजुरी दिएका थिए । विभागले अध्ययन गरेर रायसहित प्रतिवेदन पेस गर्न हनुमानढोका दरबार हेरचाह अड्डालाई निर्देशन दिएको थियो । संरक्षण अधिकृत नारायण कार्कीसहितको टोलीले कुमारी मन्दिर निजी प्रयोजनमा प्रयोग गरेको प्रतिवेदन दिएको थियो ।
    पहिले जस्ताको छानो भएको मन्दिरमा पूजा गर्न सर्वसाधारणको घुइँचो लाग्थ्यो । स्थानीयवासी शैलेश शाक्य भन्छन्, ‘हेर्दाहेर्दै यहाँ भवन बन्यो । मन्दिर पनि भित्र पर्‍यो । हामीले पनि त्यतिबेला वास्तै गरेनौं । पछि खोज्दा घरभित्र रहेछ । अहिले त्यो मूर्तिको अवस्था के छ पत्तो छैन । छोपेर घर निर्माण गरिरहेका छन्।’कार्कीले तयार पारेको प्रतिवेदनअनुसार कुमारी मन्दिर वरिपरि ठूला बोरिङ बनाइएका थिए । पहिला जस्ताको छानो भएकामा हटाएर ढलान गरिएको छ। ‘कुमारीको दर्शन गर्न जाने बाटो बन्द गरी पसल कबल राखेको देखिन्छ । बाटोमा रीतु जेम्स एन्ड ज्वेलरीको पसल छ । दर्शन गर्न जाँदा गार्डसँग अनुमति लिएर सटर खोलेर जानुपर्ने अवस्था छ,’ अड्डाले पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।
    ‘पहिला अग्लो थियो भन्दैमा अहिले पनि यसलाई अग्लो बनाउन दिइयो भने गलत नजिर बस्छ,’ स्थानीयवासी गणपतिलाल श्रेष्ठ भन्छन्, ‘पहिलेजत्रै बनाउँछु भन्न थालियो भने सम्पदाप्रेमी चुप लागेर बस्दैनन् । यसलाई तुरुन्त भत्काउनुपर्छ । नत्र हामी आन्दोलनमा उत्रन्छौं ।’ महर्जनले भने कुमारीको मूर्ति आफ्नो निजी देवता भएको दाबी गर्दै आएका छन् । पछि पुरातत्त्व विभागसँग भएको छलफलमा घर बनाउनुअघि हनुमानढोका दरबार क्षेत्रमा मूर्ति बुझाइदिने र बनाइसकेपछि मूर्ति राम्रो गरी राख्ने सहमति भएको थियो । त्यो सहमति पनि महर्जनले पालना नगरेको शाक्य बताउँछन् । महर्जन आफूले मन्दिर नमिचेको दाबी गर्छन् । ‘यो घर बनेको ७०/८० वर्ष भयो,’ महर्जन भन्छन्, ‘त्यही बेलादेखि भत्केको भवन उस्तै अवस्थामा थियो । त्यो मन्दिर पनि त्यही अवस्थामा थियो । हामीले मिचेका होइनौं ।’
    यही भवनको बाहिरपट्टि नासल देवताको मन्दिर छ । उक्त मन्दिर भने सर्वसाधारणका लागि खुला छ । शाक्यका अनुसार यो मन्दिर पनि पहिले बाहिरै थियो । पछि सार्वजनिक जग्गा अतिक्रमण भएपछि भवनभित्रै परेको छ । क्रिस्टल
    होटलको भवन भत्केपछि हनुमानढोका दरबार क्षेत्र न्यूरोडबाटै छ्याङ्गै देखिन्थ्यो । अहिले यो भवन बनेपछि दरबार क्षेत्र छोपिएको छ । भवन बनेपछि जुद्ध सालिकछेउको बाटो भास्सिएको छ । दरबार
    क्षेत्र सुरक्षाका लागि बसेको सेनाको भवन पनि चर्किएको छ । काठमाडौं महानगरपालिकाले भने यसबारे अध्ययन गरिरहेको जनाएको छ । ‘विस्तृतमा थाहा भएन,’ वडा नं. २४ का सदस्य विनोद तुलाधरले भने ।
  • निर्माण रोक्न पुरातत्त्वको पत्र
  • जुद्धसालिक छेउको बाटो भास्सियो 
  • सेनाको भवनसमेत चर्कियो 
उपत्यका

एउटैjavascript:void(0); चालक ४२ पटकसम्म कारबाहीमा

चालकको लापरबाही
- दीपेन्द्र विष्ट

काठमाडौं– हिलटेक कम्पनीको नाममा रहेको को१क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लंघन गरे । कहिले लेन अनुशासन मिचेको त कहिले फरक किसिमका हेलचेक्र्याइँ गरेको अभियोगमा कारबाहीमा परे । चालक फेरिए पनि बस चलाउने तरिका फेरिएन । जो आए पनि कारबाहीमा परिरहे । सोविन्द तामाङले चलाएको माइक्रोबसले ठक्कर दिँदा २ वर्षअघि नयाँ बसपार्कमा पैदलयात्री ४ वर्षीय अनुष तामाङको मृत्यु भयो । प्रहरी विवरणमा दुर्घटनाको कारण चालकको लापरबाही भन्ने प्रस्ट छ । तिनै सोविन्दले ट्राफिक अनुशासन उल्लंघन गरेबापत २७ पटक जरिवाना तिरे । तर, गाडी चलाउने सरकारी अनुमति पाइरहे ।
अर्जुन सेवाले चलाएको माइक्रोबसले किच्दा १ वर्षअघि चिकित्सकद्वय सन्दीप सुवेदी र सोनी आनन्दको मृत्यु भयो । नयाँ बानेश्वरस्थित विद्या संस्कार विद्यालयको विद्यार्थी बोकेको बा१य ४३ नम्बरको हरियो प्लेटको माइक्रोबस अचानक ब्रेक फेल भएर दुर्घटना भएको थियो । यसमा तीन किसिमका कमजोरी भएका थिए, पर्यटक बसमा विद्यार्थी बोक्नु, अति जीर्ण गाडी चलाउनु र पटके उल्लंघनकर्ता चालक हुनु ।
प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार सेवाले लाइसेन्स लिएको ९ वर्षमै साना–ठूला गरी २६ दुर्घटना गराएका थिए । २०६३ मा वाग्मती अञ्चल यातायात कार्यालयबाट लाइसेन्स लिएको केही महिनामै उनले ठक्कर दिए र जरिवाना तिरेर निस्के । ट्राफिक प्रहरी महाशाखाका अनुसार लाइसेन्स लिएको ६ महिनाभित्र उनले तीनपटक जरिवाना तिरिसकेका थिए । २०६७ मा उनले १० पटकभन्दा बढी जरिवाना तिरे । २०७२ मा मात्र ५ पटक जरिवानामा परे । उनले २०६५ मा तनहुँको घाँसीकुवामा गाडी दुर्घटना गराउँदा एक जनाको मृत्यु भएको थियो । पुर्पक्षका लागि थुनामा रही छुटेको केही महिनामै उनले पुन:गल्ती गरेर जरिवाना तिरे ।
४ वर्षअघि बौद्धमा विष्णुबहादुर बलले चलाएको माइक्रोबसको ठक्करले मोटरसाइकल चालक भक्तबहादुर विकको घटनास्थलमै मृत्यु भयो । बल २० पटक कारबाहीमा परिसकेका व्यक्ति हुन् । बा१ज ९७६ नम्बरको ट्याक्सी चालक अष्टनारायण महर्जन ३४ पटक, बा२ख ९५ नम्बरको गाडीका चालक प्रकाश आचार्य ४२ पटक कारबाहीमा परे । प्रहरीले संकलन गरेको तथ्यांकका आधारमा आर्थिक वर्ष २०७३/७४ मा उपत्यकामा प्रत्येक दिन १५ सवारी दुर्घटना हुने गरेको देखिन्छ । चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, ओभरटेक, पैदलयात्रीको लापरबाही, तोडफोडबाट सवारी साधनको क्षति, सडकको अवस्था र मौसम तथा चौपायाका कारण प्रत्येक दिन उपत्यकामा सवारी दुर्घटना बढ्दै गएको प्रहरीले उल्लेख गरेको छ ।
सबैभन्दा बढी दुर्घटनाचाहिँ चालकको लापरबाहीले हुने गरेको छ । महाशाखाका डीआईजी मिङ्मार लामाले पछिल्लोपटक उपत्यकाको सडकको दुरवस्थाले गर्दा सवारी दुर्घटना बढेको दाबी गरे । ‘चालकले ओभर कन्फिडेन्टमा गाडी हाँक्छन्, तर सडकको अवस्था नाजुक छ,’ उनले भने, ‘सडकको अवस्था नबुझेरै गाडी हाँक्दा दुर्घटना बढेका छन् ।’ चालकको लापरबाहीले ५ हजार २ सय ५, तीव्र गतिले ४१, मादक पदार्थ सेवनले १ सय ६७ र यान्त्रिक गडबडीले गर्दा ५० दुर्घटना भएको प्रहरी तथ्यांकमा छ ।
‘दक्ष चालक पनि छैनन्, राजधानीका सडक पनि राम्रा छैनन्,’ डीआईजी लामाले भने, ‘त्यसकारण सडकको अवस्था पनि सुधार्नुपर्छ ।’ अस्वस्थ प्रतिस्पर्धाले गर्दा चालकले जथाभावी गाडी चलाउँदा दुर्घटनाको अनुपात बढेको उनको भनाइ छ । त्यसैगरी, ओभरटेकमा ३३ वटा, पैदलयात्रीको लापरबाहीले ४ वटा, सडकको अवस्थाले २१ वटा, मौसम तथा चौपायाका कारण ७ र सवारी साधनको तोडफोडले २ सवारी दुर्घटना भएका छन् ।

उपत्यका

११ बसको इजाजत निलम्बन

- प्रशान्त माली

ललितपुर– यातायात व्यवस्था विभागले क्षमताभन्दा बढी यात्रु नबोक्न दिएको निर्देशन नमानेको भन्दै बीपी राजमार्गअन्तर्गत खुर्कोट–सिन्धुली खण्डमा चल्ने ११ वटा बसको बाटो इजाजतपत्र निलम्बन गरेको छ । ना५ख ९५२७, बा४ख ४३१२, ना७ख ८९२, ना६ख ८४६ लगायत बसको इजाजतपत्र निलम्बन गरिएको हो । यातायात व्यवस्था नियमावली अनुसार उक्त सडकमा १८ सिटभन्दा बढी र १० टनभन्दा बढीको सवारी चलाउन पाइँदैन । १८ सिटभन्दा बढी भएको गाडी मोडमा घुम्न नसक्ने र १० टनभन्दा बढीको गाडी सडकमा धस्सिने विभागको भनाइ छ ।
क्षमताभन्दा बढी यात्रु नचढाउन निर्देशनविभागले दक्षिणी ललितपुरका दुर्गम पहाडी गाउँमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न ललितपुर मिनीबस व्यवसायीलाई निर्देशन दिएको छ । चापागाउँ हुँदै दक्षिण दुर्गम पहाडी गाउँका साथै काभ्रे, मकवानपुर पुग्ने यात्रुको चाप बढेपछि कोचाकोच गरेर चलाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै विभागले सचेत
गराएको हो ।यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले निर्देशन कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिए । ‘हामी अनुगमन पनि गर्छौं,’ उनले भने । यात्रुको चाप बढे पनि चापागाउँदेखि ठूलादुर्लुङ, बुखेल, चौघरे र कटुवन जाने बाटोमा ललितपुर मिनिबस व्यवसायी संघले बस थपेको छैन । उक्त भेगका बासिन्दा दूध, तरकारी बोक्ने गाडी र मिनिट्रकमा झुन्डिएर यात्रा गर्न बाध्य छन् । त्यस्तै भट्टेडाँडाबाट माल्टा र प्युटार–कटुवन जाने बाटोमा पनि बस थपिएको छैन । ठूलादुर्लुङमा दैनिक एउटा मात्र बस चल्छ । बसमा खुट्टा टेक्ने ठाउँ नभएपछि उक्त क्षेत्रका स्थानीयवासी ट्रकमा जान बाध्य हुने गरेका छन् ।
ठूलादुर्लुङ टिकट काउन्टरका सञ्चालक जगनाथ तिमल्सिनाले एउटा बसमा जम्मा ३४ सिट हुने
बताए । ‘साँघुरो बाटोमा क्षमताभन्दा तेब्बर यात्रु बोक्नुपर्दा दुर्घटना हुने सम्भावना पनि उत्तिकै हुन्छ,’ उनले भने, ‘त्यसैले सम्बन्धित निकायले समयमै ख्याल राख्नुपर्ने हो।’ ललितपुर मिनीबस व्यवसायी संघका अध्यक्ष नीररत्न नेवा:ले ललितपुर दक्षिण भेगमा चल्ने गाडीले क्षमताभन्दा बढी यात्रु नबोकेको दाबी गरे । ‘बर्खाले गर्दा बाटो चिप्लो भएर बस गन्तव्यसम्म पनि पुग्न सकेको छैन,’ उनले भने, ‘गिम्दी पुग्ने बस भट्टेडाँडा छैमलेसम्म मात्र जान्छ ।’
गुडिरहेको गाडीबाट खसेर मृत्यु
भक्तपुर (कास)– चाँगुनारायण नगरपालिका–५ ढुङ्गेपाटीमा गुडिरहेको मिनिटाटाबाट खसेर बिहीबार एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको बा१क ८५५१ नम्बरको गाडीबाट खसेर सख्त घाइते भएका दाङका १८ वर्षीय हिमाल घर्तीमगरको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अर्का घाइते सल्यान लक्ष्मीपुर–७, जिरघाटका १९ वर्षीय शशी श्रीष मगरको भक्तपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईंले बताए । चालक चाँगुनारायण नगरपालिका–७ लाकिलाका ३९ वर्षीय लक्ष्मीजंग सुलु प्रहरी नियन्त्रणमा छन् ।

उपत्यका

एक सातामै बिग्रियो सडक

- कान्तिपुर संवाददाता

काठमाडौं– कीर्तिपुरको ल्याबोरेटोरी स्कुलबाट नयाँबजार गेटसम्म जाने सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने भएको छ । कीर्तिपुर नगरपालिकाका सूचना अधिकारी सुजीन्द्र महर्जनले उक्त सडकको गुणस्तर निकै कमसल भएको बताए । केही स्थानमा टालटुल गरिए पनि सडक भास्सिएको छ । जम्मा १३
सय मिटर सडकमा पचासौं ठाउँमा सडक बिग्रिएको भन्दै चिह्न लगाएको देख्न सकिन्छ ।
निर्माण सम्पन्न भएको एक सातामै सडकका अधिकांश भाग भासिने र भत्किने भएपछि स्थानीय बासिन्दा पनि आक्रोशित बनेका छन् । ९ करोड ३२ लाख लागतमा वज्रगुरु कवीन्द्र जेभीले २०७३ चैत अन्तिमदेखि उक्त सडक निर्माणको ठेक्का लिएको थियो । सम्झौताअनुसार असार अन्तिमसम्ममा उक्त सडक निर्माण भए पनि कालोपत्रे उप्किएर बिग्रेपछि डिभिजन सडक कार्यालयले त्यसको कारण पत्ता लगाउन प्राविधिक टोलीमार्फत अध्ययन थालेको छ । के कारणले सडक बिग्रेको हो पत्ता लगाई वर्षा सकिनेबित्तिकै पुनर्निर्माण गरिने डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ ।
कार्यालयका इन्जिनियर अरुणकुमार कर्णले उक्त ट्र्याक पहिलेदेखि नै सञ्चालनमा रहेकाले पुरानो सडकको स्तरोन्नति गरिएको बताए । सडकको ३ सय मिटर जति खण्ड निकै खराब रहेको स्वीकार्दै उनले सडक भत्किनुको कारण लापरबाहीभन्दा पनि प्राकृतिक रहेको बताए । प्रारम्भिक अध्ययनले जमिनमुनिको पानीले उचित निकास नपाउँदा तह बढेर माथिसम्म आएकाले सडक भत्किएको उनको भनाइ छ । असार १ देखि यो सडकका बारेमा अध्ययन सुरु भएको र प्रतिवेदन आइसकेपछि मुख्य समस्या बुझेर फेरि सोही ठेकेदारमार्फत दसैंअगाडिसम्म नै सडक पुनर्निर्माण गरिने कर्णले जानकारी दिए । ९ मिटर चौडाइको उक्त सडकमा ०.५ मिटरको नाला र ३ मिटरको फुटपाथ छ । सडकको दुवैतिर वृक्षरोपण गरिने सडक कार्यालयले जनाएको छ । उक्त सडकको १ किमिमा कालोपत्रे बिछ्याइसकिएको छ भने ३ सय मिटरमा अझै बाँकी छ ।

  • कारण पत्ता लगाएर पुनर्निर्माण गरिने
  • प्राविधिक टोलीमार्फत अध्ययन सुरु

 

उपत्यका

ठगी आरोपमा पक्राउ

छोटकरी

ललितपुर (कास)– प्रहरीले पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई प्रवेश परीक्षामा नाम निकालिदिन्छु भनी ठगी गर्ने मोरङका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली गाउँपालिका–८ घरभई पुल्चोक बस्ने २५ वर्षीय देव शर्मा छन् । प्रहरीका अनुसार शर्माले कलेज भर्ना हुन आउने विद्यार्थीहरूसँग ३ लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

 

उपत्यका

प्राथमिक उपचार मोबाइल एप्स सार्वजनिक

छोटकरी

काठमाडौं (कास)– नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार मोबाइल एप्लिकेसन बिहीबार सार्वजनिक गरेको छ । यो एप्स आकस्मिक अवस्थामा जीवन बचाउन र प्राथमिक उपचार सीपका लागि अत्यन्त उपयोगी हुने रेडक्रसले जनाएको छ । घर–घरमा प्राथमिक उपचार’ महाअभियानलाई साकार पार्न तथा प्राथमिक उपचारको ज्ञान विश्वभर रहेका नेपालीभाषीसमक्ष पुर्‍याउने उद्देश्यले एप्लिकेसन तयार गरिएको हो ।

 

उपत्यका

फर्निचर उद्योगमा आगलागी

छोटकरी

भक्तपुर (कास)– भक्तपुर–१० चोखा गणेशस्थित एक फर्निचर उद्योगमा बुधबार राति आगलागी भएको छ। चरणप्रसाद खायमलीले जस्ताको ट्रसमा सञ्चालन गरेको ‘चरण फर्निचर उद्योग’ मा आगलागी भएको प्रहरीले जनाएको छ । राति करिब साढे ११ बजे सुरु भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीबाट १६ लाख ८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

 

Page 7
देश

जनप्रतिनिधि भेट्नै मुस्किल

- घनश्याम गौतम
गुल्मीको रेसुंगा नगरपालिकामा बिहीबार सेवाग्राहीको भीड । तस्बिर : घनश्याम/कान्तिपुर

गुल्मी– स्थानीय तह निर्वाचन सकिएको तीन साता हुन लाग्यो । रेसुंगा नगरपालिका–७ का वडाध्यक्ष मोहन पाण्डेले शपथ खाएकै दुई साता नाघिसक्यो । तर, उनको कार्यालय कुन हो, अहिलेसम्म टुंगो छैन । ‘कार्यालय टुंगो नहुँदा पदभार ग्रहण पनि गर्न पाइएको छैन,’ पाण्डेले भने, ‘जनताका काम अहिलेसम्म झोलाबाटै चलाइरहेको छु ।’ भुजेलखर्कस्थित रूरू–रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास कार्यालयको कोठामा कार्यालय राख्ने तयारी भइरहे पनि व्यवस्थापन नमिलेको उनले बताए । ‘कार्यालय नभएकाले अहिले फोनबाटै सोधीखोजी गरेर काम गर्दैछौंं,’ उनले भने । सदरमुकाममै रहेका नगरपालिकाका १४ वडामध्ये नौवटाको अहिलेसम्म कार्यालय टुंगो लागेको छैन । जनप्रतिनिधिले पदभार नै ग्रहण गर्न पाएका छैनन् । कर्मचारीको पनि अभाव छ । १४ वडाका काम पाँच कर्मचारीले चलाउँदै आएका छन् । कर्मचारी र कार्यालय नभएकै कारण सेवाग्राही तीन घण्टा हिँडेर सदरमुकामस्थित नगरपालिका कार्यालयमै पुग्न बाध्य छन् । वर्षाले सडक बिगारेकाले ग्रामीण भेगबाट सदरमुकाम पुग्न सहज छैन । रेनापाका ११, १२, १३, १४ र ६ वडा बजार क्षेत्रबाट टाढा पर्छन् ।
‘पहिले पनि हिँडदै आयौं, काम नभएर त्यत्तिकै फर्कियौं,’ रेनपा–१४ रातामाटाका धनबहादुर सोमैले भने, ‘बुहारीको नागरिकता बनाउन फेरि तीन घण्टा हिँड्नुपर्‍यो ।’ स्थानीय चुनावपछि सरकारी काम छिटो होला भन्ने आस गरेका थिए उनले । ‘सचिवबाट काम भयो,’ उनले भने, ‘अब फोन गरेर वडाध्यक्ष खोज्दै छु ।’ वडासचिव बलराम खड्काले कार्यालय, विद्युत्, इन्टरनेट अभाव र भौगोलिक विकटताका कारण सदरमुकाममै बसेर सेवा दिनुपर्ने बाध्यता रहेको बताए । पाँच वडाका सचिवमध्ये माया घिमिरेले तीनवटाको काम एक्लै गर्दै आएकी छन् । कार्यालय व्यवस्थापन नहुँदा तीनवटै वडाका जनप्रतिनिधि खोज्दै हिँड्नुपर्ने बाध्यता छ उनलाई । ‘अहिले ७, १२ र १३ नम्बर वडाको काम म एक्लै गर्दैछु,’ उनले भनिन्, ‘सेवाग्राहीको कामको प्रकृतिअनुसार जनप्रतिनिधिलाई फोनमार्फत जानकारी दिने गरेका छौं ।’ कतिपय अवस्थामा वडासचिवले तयार गरेका कागजपत्र बोकेर सेवाग्राही आफैं जनप्रतिनिधि खोज्दै हिँडिरहेका हुन्छन् ।
नगरपालिकामा १४ वटा वडा छन् । अहिलेसम्म एउटैको व्यवस्थित कार्यालय छैन । १४ र १० नम्बर वडाले साबिककै गाविस कार्यालयमा काम चलाउने निर्णय गरे । तर, तिनको पनि कार्यालय व्यवस्थापन भएको छैन । नगर प्रमुख डिल्लीराज भुसालले तीन वर्षअघि नगरपालिका बने पनि अहिलेसम्म कार्यालय व्यवस्थापन नभएकाले जनप्रतिनिधिलाई समस्या परेको बताए । ‘मैले पटकपटक प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई कर्मचारी व्यवस्थापन गरिदिन आग्रह गरें,’ उनले भने, ‘सुनुवाइ नभएकाले सबै वडाध्यक्षलाई राखेर छलफल गर्दैछौं ।’ तत्काल कर्मचारी व्यवस्थापन नभए जिसस र प्रशासन घेर्ने तयारी रहेको उनले बताए । कर्मचारी व्यवस्थापन भए कार्यालय जनप्रतिनिधि आफैंले मिलाउने नगरपालिकाले जनाएको छ ।जिल्लाका दुर्गम गाउँपालिकाको समस्या पनि उस्तै छ । कार्यालय व्यवस्थापन भए पनि पूर्वाधार अभावमा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । मालिका गाउँपालिकाको केन्द्र अर्खाबाङमा अहिले पनि विद्युत् छैन । मोबाइलले नेटवर्क टिप्दैन । चाहेका बेला सेवाग्राहीले जनप्रतिनिधिसँग कुरा गर्न नै पाउँदैनन् । ‘फोन लाग्दैन, २–३ घण्टा हिँडेर अध्यक्ष भेट्न जानुपर्छ,’ मालिका–५ छापहिलेका ओम कार्कीले भने, ‘जनप्रतिनिधिले पहिलो सुधार नेटवर्क, बिजुली र बाटोबाटै सुरु गर्नुपर्छ ।’ कालीगण्डकी गापाको केन्द्र पूर्तिघाटमा पनि सञ्चार सुविधा छैन ।
पाँचखालले नगरसभा गरेन
काभ्रे– पाँचखाल नगरपालिकाले अझै नगरसभा सम्पन्न गरेको छैन । असार मसान्तमा बजेट, नीति तथा कार्यक्रम पारित गर्नुपर्ने भए पनि ढिलाइ भएको हो । असारको अन्तिम साता कार्यकारी अधिकृतको सरुवा भएकाले केही ढिला भएको नगर प्रमुख महेश खरेलले बताए । ‘अन्तिम समयमा कार्यकारी फेरिएकाले समयमा गर्न सकिएन,’ खरेलले भने, ‘केही दिनमै अन्तिम रूप दिएर सार्वजनिक गर्छौं ।’ खानीखोला गाउँपालिकाले पनि सभा गरेको छैन । जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकाले भने बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।




देश

javascript:void(0);न्याय खोज्दै गर्भवती बालिका सदरमुकाम

- विद्या राई

भोजपुर– अरुण गाउँपालिका–५, याकुकी ११ वर्षीया गर्भवती बालिका न्याय खोजीमा सदरमुकाममा भौंतारिँदै छिन् । उनी गत वर्ष पुसमा बलात्कारमा परेकी हुन् ।
बालिकाका अनुसार उनी गत पुस ९ गते पहिलोपटक ‘महिनाबारी’ भइन् । त्यसै महिनाको एक बिहान उनी खाना पकाउँदै थिइन् । आमाबुवा मेलापात गएका थिए । ३ वर्षको भाइ बाहिर खेल्न गएको थियो । घरमा एक्लै भएको दाउ छोपेर छिमेकी २० वर्षीय दुर्गाबहादुर श्रेष्ठले उनलाई यौन दुव्र्यवहार गरे । ‘खाना पकाउँदै थिएँ, ऊ आयो, मलाई नजिकैको खाटमा लगेर मुख थुन्यो, जबरजस्ती गर्‍यो,’ ती बालिकाले भनिन्, ‘कसैलाई भनिस् भने कुट्छु, तेरी आमालाई मार्दिन सक्छु भनेर धम्कायो, डरले कसैलाई भन्नै सकिनँ ।’
घटना गुपचुप रह्यो । पहिलोपटक महिनावारी भएकी छोरीको महिनौंसम्म रोकियो । केही समयपछि दोहोरिएला भन्ने आमाले ठानिन् । पहिलो महिनावारी भएको ६ महिना बित्नै लाग्दा, असार पहिलो साता आमाछोरी सँगै सुतेका थिए । ओढ्ने ओढाउने क्रममा आमाको हात छोरीको पेट छुन पुग्यो । पेट कडा भएको अनुभव भएपछि आमाले छोरीलाई सोधिन् ।
छोरीले दुर्गाबहादुरले गरेको हर्कत आमालाई सुनाइन् । भोलिपल्ट नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गर्दा पो थाहा भयो उनी गर्भवती भएकी रहिछन् । ६ महिना भइसकेकाले गर्भपतन गर्न नमिल्ने भयो । बालखा छोरी गर्भवती भएको सुन्दा आमा छाँगाबाट खसेजस्तै भइन् । गाउँमा केटा पक्ष र केटी पक्ष राखेर समाजको भेला बस्यो । जबरजस्ती करणी गरेको स्वीकारे पनि केटीको बुवा नेवार र आमा दलित समुदायको भएकाले केटा पक्षकाले दलितकी छोरी नभित्र्याउने चेतावनी दियो । केटीलाई गाउँमा नबस्न धम्की दियो । यसमा केटी पक्षमा रहेर न त महिला तथा बालअधिकारकर्मीले बोल्न सके न त प्रहरीले नै कानुनी दायरामा ल्याउन सके । असार १६ गते गर्भवती बालिका गाउँनिकाला भइन् । ‘गाउँको डरधम्कीकै कारण छोरीलाई घरमा राख्न सकेनौं,’ उनका बुवाले भने ।
गाउँनिकाला भएकी उनलाई केटाले नै धरान पुर्‍यायो । ‘धरान मैले कैल्यै देखेकी थिइनँ, उसले लिएर गयो, एउटा कोठामा दुईवटा खाट थियो, हामी बोलेनौं, खाना खाने बेला बोलाउँथ्यो, तीन दिनपछि बिहान हिँडेको ऊ अबेलासम्म नआएपछि म बाहिर निस्किएँ,’ उनले भनिन् । बिचल्लीमा परेकी उनी एकजना महिलाको सम्पर्कमा आइन् ।
काम विशेषले धरान गएका बालिकाका मामा–माइजूलाई ती महिलाले सम्पर्क गराएपछि केही सहारा त जुट्यो । तर गाउँ फर्कने अवस्था रहेन । मामा–माइजू महिला तथा बालबालिका कार्यालयको सम्पर्कमा आए । अधिकृत पुष्पलता उप्रेतीले बालिकालाई लिएर आउन आग्रह गरेपछि न्याय खोज्दै मंगलबार भान्जी लिएर सदरमुकाम आइपुगेका छन् ।
‘आमा दलित भएकै कारण हाम्री भान्जी बिचल्लीमा परेकी छन्, केटा पक्षले मात्रै होइन समाजले नै गाउँनिकाला गरिदियो, अन्यायमा परेका हामीलाई न्याय दिलाइनुपर्‍यो,’ केटा पक्षलाई कानुनी कठघरामा ल्याइनुपर्ने मामाले बताए । पीडितलाई न्याय र पीडकलाई सजाय हुनुपर्ने उनकी माइजू र बुवा बताउँछन् ।
आफू गर्भवती भएको चाल पाएपछि बालिका मानसिक तनावमा छिन् । उनी केटासँग बस्ने पक्षमा छैनन् । पढाइलाई निरन्तरता दिने उनको एउटै लक्ष्य रहेको सुनाइन् । केटा बेखबर छ । केटा पक्षले गाउँमा आतंक मच्चाएका छन् । गाउँमा बस्ने वातावरण छैन । उनका बुवाआमा डरधम्की सहेर बस्न बाध्य छन् ।
‘बालिकालाई सकुशल सदरमुकामसम्म झिकाउन सफल भएका छौं, उनलाई गाउँमा बस्ने वातावरण नभइसकेपछि र उनको पढाइ पूरा गर्ने चाहना भएकाले सहयोगी संस्थाको सम्पर्कमा ल्याएका छौं,’ महिला तथा बालबालिका अधिकृत उप्रतीले भनिन्, ‘केटाले केटीलाई बलात्कार गरेको सप्रमाण प्रस्ट छ, पीडकलाई कारबाहीका लागि जिल्ला प्रहरीमा उजुरीसहित केटी पक्षलाई पठाइएको छ ।’
जिल्ला प्रहरी कार्यालयका डीएसपी काजीकुमार आचार्यले उजुरी लिएका छन् । आचार्यले उजुरीअनुसार पीडित पक्षसँग बसेर सम्पूर्ण अनुसन्धान भइसकेको बताए । फरार पीडक धरानबाट पक्राउ परिसकेका छन् । ‘केही दिनमा जिल्लामा पीडकलाई ल्याइपुर्‍याउनेछौं, जबरजस्ती करणीअन्तर्गत मुद्दा चलिसकेको छ, बालिकाको स्वास्थ्य र भविष्यका सम्बन्धमा अब अदालतले फैसला गर्नेछ,’ उनले भने ।



देश

प्रेम गरेको भन्दै कुटिए युवायुवती

बुटवल (कास)– प्रेम सम्बन्धकै कारण रूपन्देहीको मर्चवारका युवायुवती निर्घात कुटिएका छन् । सम्मरीमाई गाउँपालिका–६ डिहुली गाउँका मीना यादव र दिनेश लोध कुटिएका हुन् । मीना १८ र दिनेश २१ वर्षका छन् ।
विवाहितले अन्तरजातीय प्रेमसम्बन्ध राखेर इज्जत फालेको भन्दै मीनाको परिवारले घेरा हाली उनीहरूलाई लठ्ठी र लात्तीले हिर्काएका थिए । घटनामा छिमेकी र स्थानीय जनप्रतिनिधि मिलेर युवकको परिवारलाई १ लाख रुपैयाँ जरिवाना गराएका छन् । प्रेम सम्बन्धका कारण युवती बदनाम भएको र विवाह गर्नुपर्ने भएकाले लोधका बुबालाई कारबाही स्वरूप १ लाख रुपैयाँ जरिवाना
तिराएको स्थानीयले बताए । घटनापछि दुवैजना आ–आफ्नो घरमा छन् । प्रहरीले समेत गुपचुप राखेका बेला स्थानीय एक युवकले बिहीबार भिडियो सार्वजनिक गरेपछि घटना बल्ल बाहिर आएको हो । स्थानीय रमेश कोहारका अनुसार मीना र दिनेश दुवै विवाहित हुन् । बालविवाह भएकी मीना
‘गौना’ नगरेका कारण माइतैमा बसेकी थिइन् । उनीहरू पछिल्लो समयमा नजिकिएका थिए । दुईको प्रेम सम्बन्ध रहेको शंकामा मीनाको परिवारले दिनेश घर आएको समयमा उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको थियो । दिनेशलाई बचाउन आएकी मीनालाई समेत परिवार सदस्य मिलेर लछारपछार गरेका थिए । एक युवाले मौखिक जानाकारी गराएपछि प्रहरीले युवतीका बुबा इन्नरलाई पक्राउ गरी एक दिन थुनामा राखेको थियो । २० गते मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनिया, सम्मरीमाई गाउँपालिका–२ का अध्यक्ष सत्यनारायण बनियाँ र स्थानीय जनार्दन यादवलगायतले उनलाई छुटाएका थिए । रूपन्देहीका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले भने विगतमा मानसिक रोगको औषधि खाएका इन्नर बेहोस हुन लागेपछि प्रहरीले छाडिदिएको बताए । स्थानीय लक्ष्मी यादवले भने आफूहरूले पटक–पटक छानबिनमा आग्रह गरे पनि प्रहरीले महिलाको घटना भनेर बेवास्ता गरेको बताइन् ।
भिडियो बाहिर आएपछि रूपन्देही प्रहरीले घटनामा चासो दिएको छ । ‘उतिबेला युवकको बारेमा कुरै आएन । युवतीलाई आफ्नै बाबुले कुटेको उजुरी मात्रै आयो,’ पाण्डेले भने, ‘बल्ल अमानवीय घटना र युवकसमेत कुटिएको बारेमा थाहा भयो । अब तत्काल पीडकलाई पक्राउ गरी जिल्लाबाटै घटना अनुसन्धान हुनेछ ।’

देश

बस्ती सार्न माग

धादिङ (कास)– पहिरोपीडितलाई राहत लिएर री गाउँ पुगेका प्रजिअ महेश आचार्यलाई गंगाजमुना गाउँपालिकाका पदाधिकारीले बस्ती नै सार्न आग्रह गरेका छन् । गाउँपालिका प्रमुख बलबहादुर अधिकारी र उपप्रमुख एन्जिला तामाङको नेतृत्वमा सबै वडाप्रमुखले प्रजिअसँग यस्तो माग गरेका हुन्।
मंगलबार पहिरोले पुरेका घर र पहिरो जाने सम्भावना रहेको बस्ती देखाउँदै उनीहरूले तत्काल सुरक्षित स्थलमा लैजान आग्रह गरे । पहिरोले री गाउँ उच्च माविसमेत जोखिममा परेको छ । भूकम्पयता विकट री गाउँका ररिचेत, किचेत, किन्चेतलगायत बस्ती जोखिमपूर्ण छन् । भूगर्भविद्ले री गाउँका चार र लापाका चार बस्ती सार्न सिफारिस गरिसकेका छन् । ‘अरू बस्ती व्यवस्थापन नहुँदै करिब ८० घर रहेको तामाङ बस्ती पुन्द्रुङ उच्च जोखिममा परेको छ । पहिरो झर्न थालेपछि मंगलबार गंगाजमुना–२ पुन्द्रुङका १७ घरपरिवारले बस्ती छाडेका थिए । सहायक प्रजिअ लीलाधर अधिकारी स्थानीय तहले सार्नुपर्ने बस्तीको विवरण तयार पारी सिफारिस गरेपछि सहज हुने बताउँछन् । पीडितलाई प्रतिपरिवार १० हजार नगद र नेपाल रेडक्रस, उद्योग वाणिज्य संघलगायत स्थानीय तथा अन्तर्राष्ट्रिय गैससको सहयोगमा एक महिनाका लागि खाद्यवस्तु उपलब्ध गराइएको छ ।

देश

राजपा मोरङमा नेतृत्व विवाद

- देवनारायण साह

मोरङ– राष्ट्रिय जनता पार्टी (राजपा) को जिल्ला नेतृत्वलाई लिएर विवाद चुलिएको छ । संयोजक छनोटमा पार्टी विधानले तोकेको व्यवस्था पालना नगरिएको भन्दै नेतृत्वको आकांक्षी समूह असन्तुष्ट देखिएको छ ।जिल्ला अध्यक्ष मण्डलका संयोजक मो. कादिरले पद हस्तान्तरण नगरेकाले विवाद बढेको नेताहरू बताउँछन् । प्रत्येक दुई महिनामा अध्यक्ष मण्डलका सदस्यले पालैपालो चक्रीय प्रणाली अनुसार संयोजक भई नेतृत्व गर्ने राजपा विधानमा उल्लेख छ ।
अध्यक्ष मण्डलका तीन सदस्यको समर्थन पाएका राधे कामत र जिल्लास्थित केन्द्रीय नेताहरूको समर्थन पाएका कादिर दुवैको जिल्ला कार्यसमिति संयोजकमा आ–आफ्नै दाबी छ । सहमति नजुटेपछि दुवै समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी एक–अर्कालाई दोष लगाएका छन् । विधानविपरीत कार्य गरेको भन्दै अनुशासन कारबाहीका लागि केन्द्रमा सिफारिशसमेत गरेका छन् । कामतले चार जनाको समर्थन रहेकाले आफू नै सयोजक भएको दाबी गरे । ‘अध्यक्ष मण्डल बैठकमा आफ्नो नाममा सहमति नजुट्ने देखेपछि पूर्वसंयोजक कादिर निर्णय पुस्तिका लिएर नै फरार भए,’ उनले भने, ‘त्यसपछि कादिरले पार्टीका वरिष्ठ नेता बद्री मण्डलको घरमा बसेर जिल्लास्थित केही केन्द्रीय नेताको भरमा आफू नै संयोजक भएको निर्णय गराए । यो काम विधानविपरीत भएकाले कार्यसमिति निर्णयले केन्द्रमा अनुशासन कारबाहीका लागि सिफारिस गरेका छौं ।’
कादिरले भने केन्द्रीय नेताको ‘हाइकमान्ड’ ले नै आफूलाई समर्थन गरेर पुन: संयोजक पदको अभिभारा दिएकाले पछि हट्न नमिल्ने बताए । ‘विधानभन्दा पनि पार्टी केन्द्रीय नेतृत्वको निर्णय हो, जिम्मेवारी दिइएकाले नकार्न मिल्दैन,’ उनले भने । राधे कामत समूहलाई अध्यक्ष मण्डलका सदस्यहरू श्रीराम कामत, मालबाबु सहनी, गयानन्द मण्डलका साथै महासचिव रामलाल सुतिहार, केन्द्रीय सदस्य सत्यनारायण साह, राजीव केसीको समर्थन छ भने कादिर समूहलाई उपाध्यक्ष यदुवंश साह, महासचिव जगदीश अधिकारी, महासचिव दिलीप धाडेवा, केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गुप्ता, शंकरप्रसाद शाहको साथ छ । राधे राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका पूर्वजिल्ला अध्यक्ष हुन् भने कादिर तमलोपाका पूर्वजिल्ला अध्यक्ष हुन् ।

 

देश

नयाँ भवन पाउँदा कैदी हर्षित

- हरिहरसिंह राठौर

जिल्ला कारागार धादिङका कैदीबन्दी बिहीबार नयाँ भवनमा सर्दै । तस्बिर : हरिहरसिंह/कान्तिपुर


धादिङ– जीर्ण भवनमा कष्टपूर्वक सजाय काटदै आएका जिल्ला कारागारका कैदीबन्दी बिहीबार हर्षित देखिन्थे । उनीहरूले एक–अर्कालाई मिठाई बाँडे, खुसी मनाए । यति खुसी हुनुको अर्थ उनीहरूले जेलबाट छुट्ने खबर पाएका होइनन् । यो खुसीको एउटै कारण हो, सुविधासम्पन्न भवमा बस्न पाउनु ।करिब ४० वर्ष पुरानो जीर्ण भवनमा बस्दै आएका २ सय १३ कैदीबन्दीलाई नवनिर्मित भवनमा सारिएको छ । पुरानो भवन ३० जना पुरुष र ५ जना महिला मात्रै राख्न मिल्ने क्षमताको थियो । त्यसमाथि २ वर्षअघिको भूकम्प हल्लाएपछि ढलिहाल्ला कि जस्तो अवस्थामा थियो ।
भूकम्पपछि कारागारभित्र निर्मित जस्ताको टहरा र चर्किएको भित्तामुनि १८ महिलासँग आश्रित ३ बालबालिका र १ सय ९५ जना पुरुष कष्टपूर्वक बस्दै आएका थिए । ‘पानी परेपछि सुत्न मिल्दैनथ्यो, कुनामा महिलाहरू गुजुल्टो परेर रात बिताउँथ्यौं,’ मानव बेचबिखनमा सजाय भोग्दै गरेकी ७३ वर्षीया शोभा परियारले भनिन् ।
कारागार निरीक्षण क्रममा जीर्ण भवन जुनसुकै बेला भत्कन सक्ने देखिएकाले कैदीबन्दीलाई नयाँ भवनमा सारिएको प्रजिअ महेश आचार्यले बताए । कारागार व्यवस्थापन विभागले डेढ सय जनासम्म राख्न मिल्ने गरी २ करोड १५ लाख खर्चेर भवन निर्माण गरेको हो । २०६८ सालमै सम्झौता गरिएको भवन ठेकेदारले दुई वर्षमै बनाइसक्नुपर्ने भए पनि ६ वर्ष लगाउँदा कैदीबन्दी मर्कामा थिए । जिल्ला कारागारमा हाल ६० जना कर्तव्य ज्यान, ६० जना बलात्कार, २४ जना लागूऔषध ओसारपसार, १७ जना सवारी ज्यानलगायत मुद्दाका कैदीबन्दी छन् ।
नवनिर्मित भवन निरीक्षण गर्न बिहीबार जिल्ला पुगेका कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णहरि घिमिरेले नेपालमा उपलब्ध कारागारको क्षमता १० हजार जना भए पनि हाल १९ हजार कैदीबन्दी रहेकाले तत्कालै केन्द्रीय तथा क्षेत्रीय कारागार निर्माण गर्ने योजना रहेको बताए । ‘तत्काल भीमफेदी, तौलिहवा, धादिङ र तुल्सीपुरमा चार जिल्ला कारागार प्रयोगमा ल्याइनेछ,’ उनले भने, ‘नुवाकोटमा ७ हजार जना राख्न सकिने क्षमताको केन्द्रीय कारागार र नेपालगन्जमा २ हजार जना राख्न सकिने क्षेत्रीय स्तरको भवन निर्माण अघि बढाइँदै छ ।’ कैदीबन्दीले बाँसका मुडा बुनेर मासिक ६ हजार जति आय आर्जन गर्दै आएका छन् ।

 

देश

दुर्घटनामा तीनको मृत्यु

छोटकरी

धादिङ (कास)– पृथ्वीराजमार्गको बेनीघाट र गजुरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बबेनीघाट विशालटारमा बुधबार भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । घटनामा ४ जना घाइते भएका छन् । काठमाडांैंबाट काँकडभिट्टा जाँदै गरेको ना५ख २२९३ नम्बरको रात्रिबस सडक छेउको खोल्सीमा खसेको थियो । मृत्यु हुनेमा झापा घर भएका बसका चालक ३५ वर्षीय कमल ढुंगाना र सोही स्थानका सहचालक २२ वर्षीय नवराज सिवाकोटी रहेको गजुरी प्रहरीले जनाएको छ । ‘काठमाडौंदेखि नै उक्त बस सहचालकले चलाएका थिए । प्रत्यक्षदर्शी यात्रु जीवन सुन्दासका अनुसार चालक क्याबिनको सिटमा बसेका थिए । घाइतेको मलेखुस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । गजुरीको जिप दुर्घटनामा कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद शर्माकी श्रीमती विष्णुकुमारीको मृत्यु भएको छ । जिप दुर्घटनामा चालक, शर्मा र उनका छोरा घाइते भएका छन् ।

देश

डुबेर २ को मृत्यु

छोटकरी

कञ्चनपुर (कास)– कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला नजिकै महाकाली सिँचाइ आयोजनाको नहरमा डुबेर दुई युवकको मृत्यु भएको छ । गड्डाचौकीबाट भुजेलामा रहेको आफन्तको घर जाने क्रममा बुधबार राति म१प ४६६० नम्बरको मोटरसाइकल नहरको साइफनमा ठोक्किर दुवैजना नहरमा खसेका थिए । मृत्यु हुनेमा दार्चुलाको लेकम गाउँपालिका घर भई महेन्द्रनगर बसोबास गर्ने मनोज पन्त र डम्मर पन्त रहेको प्रहरीले जनाएको छ । उनीहरू नाताले काका–भतिजा हुन् ।

देश

प्रसाद खाँदा ६२ जना बिरामी

छोटकरी

नुवाकोट (कास)– पितृप्रसाद खाएका बेलकोटगढी पिप्लेका ६२ जना बिरामी परेका छन् । बुधबार भोजबहादुर आलेमगरको घरमा श्राद्धको प्रसाद खाएका छिमेकीहरू बिरामी परेका हुन् । भोजबहादुरले आफ्ना पिता शेरबहादुरको श्राद्धको प्रसाद छिमेकीलाई खान दिएका थिए । उनीहरूले रोटी, तरकारी र अचार खाएका थिए । प्रसाद ग्रहण गरेका स्वयं भोजबहादुर, उनकी श्रीमती कमला र छोरी पनि बिरामी परेका छन् । उनीहरूको उपचार राजधानीको महाराजगन्जस्थित शिक्षण अस्पतालमा भइरहेको छ । कृष्णप्रसाद लामिछाने, पत्नी प्रेमकुमारी, छोरी सविना, विना र छोरा सन्तोषको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भइरहेको छ । श्राद्धको प्रसाद खाएर टोल नै बिरामी परेपछि जिल्ला स्वास्थ्य कार्यालय त्रिशूली र केउरी फार्मेसीका स्वास्थ्यकर्मीको टोली टोलमै गएर उपचार गरेका थिए ।

 

देश

‘वीरेन्द्रनगर उच्च जोखिममा’’

छोटकरी

सुर्खेत (कास)– वीरेन्द्रनगर उपत्यका बाढीपहिरोको उच्च जोखिममा रहेको एक अध्ययनले जनाएको छ। उत्तरी जलाधार क्षेत्रको भूगोल कमजोर अवस्थामा रहेको र उपत्यकाको पानी निकास हुने द्वार निकै साँघुरो भएकाले वर्षातका बेला बाढीपहिरोको खतरा रहेको औंल्याइएको छ । वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा वातावरण सुधार समाजले गरेको सर्वेक्षणमा उत्तरी जलाधार क्षेत्रको संरक्षण नगर्ने हो भने सामान्य वर्षात्मा समेत पहिरो बग्न सक्ने उल्लेख छ । प्रकोपका दृष्टिले वडा नम्बर ३ र ११ बढी जोखिममा रहेको पाइएको छ । वीरेन्द्रनगर क्षेत्रमा हिउँदमा निकै सुक्खा र बर्खामा निकै भारी परिमाणमा वर्षात् हुने गरेकाले जलवायुलाई सन्तुलन राख्न जरुरी देखिएको कार्यक्रममा सहजकर्ता दामोदर धितालले बताए ।

 

देश

भेटिएनन् बालक

छोटकरी

सिन्धुपाल्चोक (कास)– बाह्रबिसे नगरपालिका मानेश्वरा डाँडाखेतका बालक आवेश तामाङ हराएको १३ महिना भएको छ । २०७३ असार २ गते अध्ययन गर्न गएको विद्यालयबाटै हराएका उनको हालसम्म कुनै पत्तो पाइएको छैन । बेलुकासम्म घर नआएपछि उनको खोजी गरिएको थियो । छोरा हराएदेखि आँखा पिता चीनबहादुर ‘विक्रम’ का आँखा ओभाना छैनन् । उनले प्रहरीमा सूचना दिएर सबै स्थानमा खोजिरहेको बताए । उनले कसैले आवेशलाई फेला पारे ९८४०२३७८७१ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

 

देश

अन्तर्घातीलाई कारबाही गर्न माग

छोटकरी

नुवाकोट (कास)– स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेर पराजित भएकाहरूले अन्तर्घात गर्ने पार्टी कार्यकर्तामाथि कारबाही गर्न माग गरेका छन् । माग सुनुवाइ नभए केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको घर घेर्ने बताएका छन् । बिहीबार सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजित बीपी विचार बचाऔं, नेपाली कांग्रेस जोगाऔं भन्ने नारासहित आयोजित
छलफल कार्यक्रममा उनीहरूले यस्तो विचार राखेका हुन् । ‘अन्तर्घातीलाई कारबाही नगरे पार्टी सभापतिको घर घेर्छौं,’ विदुर नगरपालिकाका पराजित उम्मेदवार ध्रुव अधिकारीले भने, ‘अन्तर्घातका कारण पार्टीले हार व्यहोरेको छ ।’ विदुर र बेलकोटगढी नगरपालिकाका पराजित तथा विजयी उम्मेदवारहरूले जिल्लाका ६ जना नेतालाई कारबाही गर्नुपर्ने बताए । नेताको नाम भने तोकेनन् । पार्टीका जिल्ला सचिव सुरेन्द्र अधिकारीले हराउन लागेको प्रमाण भेटिए कारबाहीका लागि आफूहरू तयार रहेको बताए ।

 

Page 8
दृष्टिकोण

डोकलाङ र चीनको छिमेक सम्बन्ध

- ध्रुव कुमार

अलेष्टर ल्याम्बले एसियन फ्रन्टियर्स (१९६८) पुस्तकमा चीनसित साँध जोडिएका मुलुकहरू र चीनबीच सीमा विवादसम्बन्धी निरन्तर समस्याबारे विस्तृत अध्ययन गरेका छन् । चीनको उत्तरमा रहेको तत्कालीन सोभियत संघ र दक्षिण–पश्चिमको भारतबाहेक बाँकी अन्य राष्ट्रहरू साना छिमेकी नै हुन् । साँध–सीमा विधिवत नरहेकै कारण इतिहासका विभिन्न कालखण्डमा साना छिमेकीहरूसित सीमा सम्झौता गरेर चीनले विवाद टुंग्याएको छ । तर सीमा विवादकै कारण चीनले आफ्ना दुवै ठूला छिमेकीहरू भारतसित अक्टोबर १९६२ मा अनि सोभियत संघसित मार्च १९६९ मा छोटो युद्धसमेत लडेको छ । सोभियत संघको विखण्डनपछि चीनका छिमेकीहरूको संख्या बढेको छ । तर उत्तर–पश्चिम भेगमा सीमा विवाद एक हदसम्म टुंगिएको छ । दक्षिणमा रहेको भारतसित भने अनेकौं द्विपक्षीय वार्ता र समझदारीपछि पनि बेलाबखत सीमा विवाद चर्किनुकै कारण ती दुईबीचको सम्बन्ध सामान्यीकरण हुनसकेको छैन ।सामान्यतया राज्यको साँध–सीमाले मुलुकको भौगोलिक सम्प्रभुताको रेखांकन गर्ने हुँदा राष्ट्रिय पहिचानसहित सीमा सुरक्षाप्रति संवेदनशीलता र त्यसको प्रतिरक्षा गर्न मुलुकहरू कूटनीतिक उपाय अपनाउनुका साथै तामसी शक्ति प्रयोग गर्न पनि चुक्दैनन् । साम्यवादी चीनले स्थापित भएको २० वर्षभित्र आफ्नै व्यवस्थाको उत्प्रेरक सोभियत संघसित जुध्नु, त्यसैगरी पञ्चशील र सह–अस्तित्व सिद्धान्त स्वीकारी हातेमालो गरेको भारतसित लड्नु उसको राष्ट्रिय सम्प्रभुतामा आँच आउनुकै कारण रहेको छ । दक्षिणी भेगकै साना छिमेकीहरूमध्ये पाकिस्तान, नेपाल र बर्मा (म्यानमार) सित सीमा सम्झौता गर्न सफल हुनु र त्यसबेलाको सिक्किमसँग तिब्बतको चुम्बी उपत्यकामा भारतको सैन्य उपस्थितिको कारण चर्किएको विवाद र पछि त्यसको भारतमा विलयले गर्दा बिथोलिएको सम्बन्ध चीन र भारतबीचको परस्परको सम्बन्धबाटै अब निर्धारित हुनेछ । राष्ट्रिय सम्प्रभुताप्रतिको संवेदनशीलता साना मुलुकको पनि हुन्छ । चीनले आफ्नो भूभाग भन्दै सडक खन्दै गरेको भुटानको दक्षिण–पश्चिम सीमामा रहेको डोकलाङ (दोक्लम पनि भनिने) पठार आफ्नो अक्षुण्ण भूमि रहेको दाबी गर्दै १९९८ मा सीमा विवादसम्बन्धी लिखित समझदारी कायम गर्न चीनलाई अनुरोध गरेको छ । चीनको दाँजोमा अति सानो, अल्पविकसित, कमजोर अनि शून्य सैन्य क्षमता भएको भुटानले विवाद चर्काएर जोरी खोज्ने नियत राखेको छैन । शिष्टतापूर्ण वक्तव्यबाट सीमा विवाद नचर्काए पनि विश्व रंगमञ्चमा आफ्नो सम्प्रभुता दाबीको सम्प्रेषण गर्दै समस्याप्रति ध्यानाकर्षण गरेको छ । यसलाई सानो मुलुकको कूटनीतिक चारित्रिक विशेषताकै रूपमा मनन गर्नुपर्ने भएको छ । आफ्नो समस्याप्रति विश्व समुदायको ध्यानाकर्षण गरी अन्तर्राष्ट्रियस्तरमा आफ्नो अस्तित्वप्रति सचेत गराउने कार्य सानो राष्ट्रको नीतिगत विशेषता नै हुने गर्छ । किनभने साना राष्ट्रहरूको विकल्प चयनको सीमितता हुनेदेखि मनोवैज्ञानिक तवरबाट नै असुरक्षाको त्रासदीबाट ती प्रभावित हुन्छन् । यही असहज परिस्थितिमा अहिले भुटान रहेको छ । तिब्बती सांस्कृतिक समायोजनको आशंका भुटानमा अझै बाँकी छ भने राजनीतिक, भौगोलिक तथा आर्थिक अतिक्रमणद्वारा भारतमा विलय हुनसक्ने त्रासदीबाट पनि भुटान मुक्त हुनसकेको छैन ।
दक्षिण एसियामा धार्मिक, सांस्कृतिक र रहन–सहनमा तिब्बतको अक्षुण्ण प्रभाव रहेको मुलुक भए पनि चीनसित दौत्य सम्बन्ध नरहेको भुटानको संधियारको रूपमा चिनियाँ प्रतिनिधिहरूसित सरकारी स्तरमा सम्पर्क र संवाद भने जारी राखेकै छन् । कूटनीतिक सम्बन्ध स्थापना गरी सीमा विवाद टुंग्याउनुको साथै द्विपक्षीय व्यापार प्रबद्र्धन गर्ने विषयमा छलफल चलेको दशकौं बितिसकेको छ । भुटानले आफ्नै अग्रसरतामा अप्रिल १९८४ देखि बेइजिङबाट थालेको द्विपक्षीय सीमा वार्ता अगस्त २०१६ सम्म २४ औं पटक सम्पन्न भइसकेको छ । सम्पर्क र संवादको निरन्तरतासितै पर्यटकीय आवागमन र उच्चस्तरीय भ्रमणले गर्दा जनस्तरमा समेत चिनियाँहरू भुटानबारे अनभिज्ञ छैनन् । सीमा वार्ताकै कारण अनौपचारिक भए पनि द्विपक्षीय सम्बन्ध झ्यांगिएको छ । यसको ज्वलन्त उदाहरण राजा जिग्मे वाङचुकले १९४९ को सन्धिप्रति भुटानको कुनै गुनासो नरहेको भारतलाई कुनै बेला आश्वासन दिए पनि २००७ मा उक्त सन्धिको धारा २ फेर्दै नयाँ सन्धि गर्न भारतलाई मनाउन सक्नु भुटानको कूटनीतिक परिस्कृतताकै रूपमा बुझ्नुपर्ने हुन्छ (जबकि सन्धि भएको दिनदेखि नै सबै नेपालीले असमान र अमान्य ठहर्‍याएको १९५० को सन्धिको विवाद भारतसित नेपालले टुंग्याउन सकेको छैन) । नयाँ सन्धि अनुसार राष्ट्रिय स्वार्थ सम्बन्धित विषयमा भुटान र भारत परस्पर सहकार्य गर्न वचनबद्ध भएका छन् । यस भनाइले १९४९ को सन्धिको धारा २ मा कुँदिएको ‘भुटानको बाह्य सम्बन्ध भारतको सुझाव अनुसार चल्नेछ’ भन्ने वाक्य खारेज गरिएको छ । तर भुटानले चाहेर पनि दौत्य सम्बन्ध गाँस्न सकेको छैन । यसको कारण सीमा विवाद भने होइन ।
भुटान र चीनबीच ७६४ वर्गकिमि क्षेत्रमा सीमा विवाद रहेको छ । त्यसमध्ये भुटानी सरकारी तथ्यांक अनुसार २६९ वर्गकिमि क्षेत्र डोकलाङ पठारमा पर्छ । जसमा अहिले विवाद केन्द्रित छ । डोकलाङ भुटानको पूर्व–उत्तरी साँधमा अवस्थित तवाङ्ग क्षेत्रजस्तै सामरिक दृष्टिकोणमा अति महत्त्वपूर्ण भूभाग रहेको छ । यदि डोकलाङ पठारलाई विवादमा नअल्झाउने हो भने भुटानको उत्तरी सीमाको जाकुरलुङ र पासमलुङ उपत्यकामा आफ्नो दाबी र नियन्त्रण छोड्ने चिनियाँ प्रस्तावलाई भुटानले सहजै स्वीकार्न सकेको छैन । ती सीमा क्षेत्रबाट चीन हटे वा नहटे पनि भुटानले आफ्नो दक्षिण–पश्चिम सीमा रहेको डोकलाङमा चीनको स्वामित्व आफ्नै आन्तरिक कारण र बाह्य बाध्यताले गर्दा स्वीकारेको छैन । चीनसित दौत्य सम्बन्ध राख्न चाहेर पनि नसक्नु, भूराजनीतिक परिस्थितिले गर्दा चीन–भारतबीचको तनावपूर्ण सम्बन्धकै कारण भूपरिवेष्टित राष्ट्र हुनुको मूल्य चुकाउनुपर्ने स्थितिले भुटानको बाध्यता स्पष्ट गर्छ । तसर्थ सहमतिमा नपुगुन्जेल चीनले सडक निर्माण कार्य रोकी यथास्थिति कायम गर्नुपर्ने भुटानको अभिप्राय छ । भुटानको यथार्थवादी तथा संयमित व्यवहारले डोकलाङ विवाद विस्फोटक हुनुबाट बचेको छ । तर यो विवाद भुटान र चीनबीच द्विपक्षीय मात्र नभई यसको तेस्रो पक्ष पनि छ । यसले भारतीय संरक्षकत्वमा रहेको भुटानको सम्प्रभुताको मुद्दाको आडमा विद्यमान भारत–चीन सीमा विवादमा तेस्रो आयाम थपेको छ । अहिलेको विवादमा भारतको संलग्नता भुटान र चीनबीचको विवादित सीमा क्षेत्रमा चीनले आफू अनुकूल यथास्थिति परिवर्तन गर्न खोजेको भुटानको गुनासोको कारण भएको हो । भारतको आफ्नै ३,४८८ किमि लामो चीनसित जोडिएको सीमा क्षेत्रबारे १९९३ मा विद्यमान नियन्त्रित रेखामा शान्ति कायम गर्ने द्विपक्षीय सम्झौता भए पनि बेलाबखत सीमामा तनाव बढ्ने क्रम जारी नै छ । सीमा रेखा उल्लंघनको आरोप दुवै पक्षबाट लाग्ने गरेको छ । सन् १९८६ मा तवाङ्गको उत्तरमा पर्ने सुमडोरोङचुमा उठेको गम्भीर तनाव १९८८ मा तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको चीन भ्रमणपछि पनि शिथिल हुन करिब १० वर्ष लागेको थियो । दुवै मुलुकका सेना आमने–सामने हुनु र युद्धको शंखनाद गर्नु घरेलु र अन्तर्राष्ट्रिय खपतको निम्ति एउटा परम्परा नै भएको छ । तर वस्तुस्थितिको तथ्यपरक विश्लेषणको अभावमा युद्धको आशंका पनि मडारिएको छ, जसको सम्भाव्यता भने अति न्यून छ ।
भारतको चीनसित सीमा विवाद बाहेक अन्य थुप्रै मुद्दामा रहेको असहमतिले गर्दा सम्बन्ध तनावग्रस्त रहेको छ । त्यसमध्ये प्रमुख विषय अहिले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) भएको छ, जुन बाटो भारतीय दाबी रहेको पाकिस्तान नियन्त्रित कश्मीर भएर गुजिँ्रदैछ । त्यसैगरी चीनले भारतलाई न्युक्लियर सप्लायर्स ग्रुपको सदस्यताबाट वञ्चित गर्नु अनि मौलानमसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंककारी नस्वीकार्नु अनि भारत ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सहभागी नहुनुले द्विपक्षीय सम्बन्धमा तनावको पारो चढेको छ । भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननले १५ जुनमा ‘भारत–चीन (बीच) चुनौती’ गोष्ठीमा राखेको भनाइ अनुसार ‘दुई मुलुकबीच शक्ति सन्तुलनमा देखापरेको वास्तविक भिन्नताले गर्दा चीनको
बढ्दो सैन्यशक्ति, आर्थिक उन्नति र कूटनीतिक प्रभावको त्रासदी’ ले भारत–चीनबीच विगतमा कायम रहेको समझदारी क्रमश: हराउँदैछ । त्यसको मनोवैज्ञानिक असर भारतीय व्यवहारमा प्रतिविम्बित हुँदैछ । त्यसैले भारत र चीनबीच चिसिँदो र खस्किँदो सम्बन्ध व्यवस्थापन गर्न ‘नयाँ रणनीतिक खाका’ कोर्नुपर्ने आवश्यकता औंल्याएका छन्, मेननले ।
चीनसितको सम्बन्ध सुध्रिनै नसक्ने गरी बिग्रिसकेको पनि त छैन । यही जुलाईको अन्त्यतिर प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल बेइजिङ पुग्दैछन् । मोदी स्वयम् ब्रिक्स सम्मेलनमा भाग लिन यही सेप्टेम्बरमा चीन पुग्दैछन् । चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्रीको यो उच्चस्तरीय भेटघाट हात मिलाउनुमा मात्र सीमित रहने छैन । तीबीच ब्रिक्सको एजेन्डा बाहेक द्विपक्षीय सम्बन्धबारे सल्लाह र समझदारी पनि हुनेछ । किनभने यी दुवै राष्ट्रका नेतृत्व वर्गको महत्त्वाकांक्षा भविष्यमुखी छ । त्यसैले वर्तमानमा उपलब्ध अवसरहरूलाई सीमा विवादमै अल्झाएर गुमाउन चाहँदैनन् । हुन त सीमा विवादले सांकेतिक रूपमा राष्ट्रिय सुरक्षाको गम्भीर चुनौती औंल्याउँछ । अनि शक्तिशाली नेताहरूको व्यक्तिगत अहम्ले पनि टकराव निम्त्याउँछ । तर चीनसित प्रत्यक्ष संवाद नै विवाद सल्ट्याउने सबैभन्दा उपयुक्त उपाय हो । डोकलाङ चीनले आफ्नो भूमि भनी दाबी गरेको छ । भुटान त्यो स्वीकार्दैन । भुटानभित्र उपस्थित भारतीय सेना थिम्पुलाई सघाउन डोकलाङ पुगेको छ । आफ्नो भूमिमा भुटान हुँदै भारतीय सेना पसेको चीनको गम्भीर आरोप छ । त्यहाँबाट तेस्रो मुलुक भारतको सेना हटेमात्र सीमा विवादबारे छलफल गर्न चीन तयार रहेको बेइजिङको भनाइ छ । विवादको कूटनीतिक समाधान खोज्न पहिले दुवै पक्ष पूर्ववर्ती अवस्थामा फर्कनुपर्‍यो । भारतीय सेनाको डोकलाङमा उपस्थिति निश्चय नै उत्तेजनाको कारण हो । तर डोकलाङ चुम्बी उपत्यकामा भारतको अति संवेदनशील भूभाग ‘चिकेन नेक’ अनि नाथुला नजिकै पर्छ, जुन भारत–चीनको व्यापारिक मार्गको रूपमा समेत प्रयोग हुँदै आएको छ, सन् २००६ देखि । यी दुवै शक्तिराष्ट्रहरूबीचको परस्परको विश्वसनीयतामा खडेरी पर्नु चीनको प्रतिवादको बाबजुद दलाई लामालाई हालै अरुणाञ्चल प्रदेश र
तवाङ्गको भ्रमण गराउनुमा मोदीकै विशेष भूमिका रहेको चीनको बुझाइले सम्बन्ध प्रत्यक्ष प्रभावित भएको छ ।
डोकलाङ विवादलाई यही पृष्ठभूमिमा चिहाउनुपर्छ । त्यहाँ के भइरहेको छ, त्यसबारे सत्य–तथ्यबाट अवगत छैनौं । तर भारत–भुटान र चीनको त्रिदेशीय सम्बन्ध विश्लेषण गर्दा भुटानसित सहज अनि सामान्य कूटनीतिक सम्बन्ध कायम गर्न भारतलाई नै अवरोध ठान्छ, चीन । तसर्थ चीनको चासो भुटानलाई आफ्नो प्रभाव क्षेत्र कायम गर्नुभन्दा थिम्पुबाट नयाँदिल्लीको एकलौटीलाई क्रमिक रूपमा विस्थापित गर्नुमै केन्द्रित छ । डोकलाङको मुद्दामा भारतीय संलग्नतालाई नस्वीकार्नु यसैको संकेत हो । र दोस्रो मुलुकको भूमि भई चीनको दाबी रहेको भारतीय सैन्य उपस्थितिलाई अतिक्रमणको संगीन आरोप लगाई दोषारोपण गर्न चीन सफल भएको छ । यस हिमाली भेगमा भारतको राजनीतिक, आर्थिक र सैनिक प्रभाव कसरी मत्थर गर्न सकिन्छ र आफ्ना साना छिमेकीहरूसितको सम्बन्ध बढी विश्वासिलो र प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यबाटै चीनको रणनीति जारी छ । यस रणनीतिलाई सार्थक बनाउन चीनले कूटनीतिक र आर्थिक प्रभाव नै बढी प्रयोग गरेको छ, १९६२ मा भारतसित युद्ध र १९६७ मा सिक्किममा झडप बाहेक ।
भारत भने युद्ध हुने वा नहुने, दुवै पक्ष ‘आमने–सामने’ नै रहने सम्भावनाको डर, त्रास र धम्कीभन्दा बेइजिङको थिम्पुमा स्थायी उपस्थिति हुने सम्भावनाबाट बढी चिन्तित छ । भुटानले चीनसित कूटनीतिक सम्बन्ध राख्ने अवस्था आउनु भारतको चीनसित अर्काे पराजय हुनेछ । सन् १९९० को दशकको सुरुवातमा भुटानको डुबर्स क्षेत्रबाट नेपालीमूलका भुटानी बासिन्दालाई लखेट्न सघाएझैं भुटानमा आर्थिक र व्यापारिक विस्तार गर्न सक्रिय चिनियाँहरूलाई फर्काउन भारतको निम्ति प्रायश: असम्भव नै हुनेछ । र अहिलेको सीमा विवाद पश्चिम भुटानको सीमा रेखांकनसमेत नभएको क्षेत्रमा भुटानको दाबी अनुसार भएको छ, भारतसित होइन । तसर्थ भुटानको अन्तर्राष्ट्रिय सीमा निर्धारण सम्बन्धमा भारतलाई बोल्न छुट दिन चाहँदैन, चीन । डोकलाङ विवाद चीन वा भुटानको दाबीले भन्दा त्यहाँ भारतीय सेनाको तैनाथीले चर्केको छ । यसबारे भारतले पुनर्विचार गर्नु अत्यावश्यक छ । चीन डोकलाङमा भुटानको असन्तुष्टि द्विपक्षीय वार्ताबाट टुंग्याउन चाहन्छ।

सम्पादकीय

चेक रोकेर कमिसनको खेल

आर्थिक अनियमिततामा सरकारी कर्मचारीहरू कुन हदसम्म लिप्त हुन्छन् भन्ने कुरा असारमा काटिएको ठूलो रकमको चेक आर्थिक वर्ष सकिँदासमेत थन्क्याइराख्ने प्रवृत्तिले प्रस्टयाउँछ । आर्थिक वर्ष २०७३/७४ मा ८ खर्ब २३ अर्ब रुपैयाँ बराबरको चेक काटिएकामा १ खर्ब २ अर्ब रुपैयाँ बराबरको चेक साट्न बाँकी छ । यसको मतलब अधिकांश चेक सम्बन्धित कार्यालयमै थन्किएका छन् । काम गर्ने ठेकेदार वा अन्य सेवाप्रदायकलाई नदिई चेक आफूसँगै राख्नुको सोझो अर्थ हो, त्यहाँ आर्थिक चलखेल जोडिएको छ । भुक्तानी पाउने व्यक्ति वा कम्पनीले सरकारी कर्मचारीलाई मागिएको निश्चित रकम बुझाएपछि मात्र ती चेक हात पार्छन् । वर्षौंदेखि चल्दै आएको र आर्थिक वर्ष सकिने बेला तीव्र बन्ने यस्तो प्रवृत्ति बढ्दै गएको छ । तर चेक लेनदेनको यस्तो विकृति नियन्त्रणमा सम्बन्धित पक्षको भने उदासीनता देखिँदै आएको छ जुन निन्दनीय छ ।कुन समयावधिमा कति मात्रामा विकास खर्च गरिसक्नुपर्ने निश्चित मापदण्ड नभएकाले हामीकहाँ आर्थिक वर्षको अधिकांश समय सुस्ताउने र अन्तिममा प्रगति देखाउन तीव्र गतिमा काम गर्ने प्रवृत्ति छ । यही प्रवृत्ति सरकारी कर्मचारी, ठेकेदार लगायतलाई आर्थिक अनियमितता गर्ने अवसर बन्दै आएको छ । बजेट फिर्ता हुनबाट जोगाएर काममा प्रगति देखाउन लालायित सरकारी कर्मचारी र जसरी पनि भुक्तानी खोजिरहेका निर्माण व्यवसायीबीच लेनदेन जोडिएपछि गुणस्तरीय काम हुनै सक्दैन । बजेट बेलैमा आए पनि आर्थिक अनियमितताको अवसर छोप्नकै लागि जेठ–असारतिर मात्र काममा तम्सने प्रवृत्ति स्थापित भएको छ । गएको आर्थिक वर्षको अन्त्यसम्ममा साट्न बाँकी रहेको चेकले खर्च गर्ने त्यही प्रवृत्तिलाई समेत छर्लंग पार्छ ।
नियमत: सरकारी चेक एक महिनाभित्र साटिसक्नुपर्छ र सामान्यत: चेक असार २५ भित्रै काटिसक्नुपर्छ । साट्न बाँकी सबै चेकमा कमिसनको चलखेल नहुन सक्छ । चालु खर्च अन्तर्गतको चेक पनि काटिएर भुक्तानी बाँकी रहेको हुन सक्छ भने केही चेक अन्य बैंकमा जम्मा गर्नुपर्ने भएकाले क्लियरिङमा समय लागेको हुन सक्छ । तर भुक्तभोगीहरूका भनाइमा साट्न बाँकीमध्ये अधिकांश चेक भने कमिसनसँगै जोडिएका छन् । यस्ता चेक सम्बन्धित कार्यालय प्रमुख, लेखापाल वा इन्जिनियरले अतिरिक्त लाभ लिएर मात्रै ठेकेदार वा सेवाप्रदायकलाई दिने गरेको पूर्वअर्थ सचिव रामेश्वर खनाल नै बताउँछन् । सरकारी काम गरेपछि सम्बन्धित कार्यालयले विवरणसहित चेक काट्न जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा पठाउने प्रावधान छ । कोलेनिकाले चेक सम्बन्धित कार्यालयमै पठाएपछि कर्मचारीहरूले भने चलखेलका लागि थन्काएर राख्छन् । असार २५ पछि चेक काट्नुपर्ने भए कोलेनिकाको अनुमति लिनुपर्ने व्यवस्थासमेत दुरुपयोग हुने गरेको छ । कोलेनिका र सम्बन्धित कार्यालयका लेखापाल मिलेपछि असार मसान्तसम्मै चेक काटिने गर्छ ।
निश्चित रकम लिएर मात्र चेक काट्नु/दिनु आर्थिक अपराध नै हो । यसमा सबैको मिलेमतो भएपछि काममा गुणस्तर हुन सक्दैन । मिलेमतोले दण्डहीनतासमेत बढाउँछ । समग्रमा यो मुलुककै लागि घातक छ । त्यसैले यो प्रवृत्ति नियन्त्रण गर्नुपर्छ । तत्कालका लागि आर्थिक चलखेलका लागि चेक थन्क्याउने कर्मचारीका विषयमा छानबिन गर्नुपर्छ र दोषीलाई कानुनी कारबाही गर्नुपर्छ । दीर्घकालका लागि भने भुक्तानी प्रणालीमा सुधार गर्दै छिटोछरितो र पारदर्शी बनाउनुपर्छ । भुक्तानी सिधै सेवाप्रदायकको खातामा जाने व्यवस्था मात्रै सबै कार्यालयमा लागू गर्न सके चेक आफूसँग राखेर रकम बार्गेनिङ गर्ने प्रवृत्ति न्यूनीकरण हुन्छ । सिंहदरबारमा सुरु गरिएको यस्तो भुक्तानी प्रणाली सबैतिर अनिवार्य गर्नुपर्छ । यस्तै, वर्षभरि नै खर्च गर्ने वातावरण बनाउन राजनीतिक तहमा पनि इमानदारिता चाहिन्छ । बजेटमाथिको राजनीति अन्त्य गरिनुपर्छ । राजनीतिक दलहरूले आर्थिक अनियमितता गर्नेहरूलाई सहयोग र संरक्षण गर्दा दण्डहीनतासँगै भ्रष्टाचार पनि मौलाउँछ । त्यसैले काम नगर्ने कर्मचारी र ठेकेदारलाई संरक्षण गर्न राजनीतिक दलहरूले बन्द गर्नुपर्छ ।

पाठक मञ्च

हारको समीक्षा गलत ढंगले नगरौं

यतिखेर नेपालका प्रमुख दलहरू चुनावी हारको समीक्षामा लागेका छन् । आफ्नो दलको उम्मेदवारहरू के कारणले हारे ? किन जनताले मत दिएनन् ? के त्रुटि भयो र जनताबाट दण्डित भइयो ? भन्ने प्रश्नको उत्तर खोज्नु जिम्मेवार दलहरूको दायित्व हो । एमाले बाहेक सबै दलले हारको गम्भीर समीक्षा गर्ने बेला आएको छ । निर्वाचनको मुखमा आएर जनताको नजरमा अपाच्य निर्णय गरेको कारण नेपाली कांग्रेस पहिलोबाट दोस्रोमा झर्न पुगेको हो भने माओवादी केन्द्र तेस्रो भएर शर्मनाक स्थितिमा पुगेको छ । माओवादी त सहरी क्षेत्रबाट करिब–करिब बढारिन नै पुगेको छ । राजधानीमा माओवादीले बीउसमेत राख्न सकेन । उता राप्रपा त झनै दर्दनाक स्थितिमा पुगेको छ । राप्रपाले पार्टीको हारको पछाडि ९ कारण रहेको खुलासा गरेको छ । तर उसले अध्यक्ष कमल थापाको ढुलमुले नीति र सत्तालिप्सालाई भने हारको कारण बताउनसकेको छैन । जुन प्रमुख कारण हो । अहिले माओवादी र राप्रपा हारको समीक्षा गर्न बसेका छन् भने कांग्रेस साउन ९ देखि बस्दैछ । कांग्रेसको पौडेल समूहले निर्वाचनको मुखमा आएर शेरबहादुर देउवाले आईजीपी काण्ड, राजदूत काण्ड र प्रधानन्यायाधीशमाथि महाअभियोग काण्ड तेर्साउँदा मतदातामा नकारात्मक असर परी कांग्रेस हारेको आरोप लगाएका छन् । जुन सही छ ।
देउवा र प्रचण्डले सत्तामा बसेपछि जे गर्दा पनि हुन्छ, जनताले के गर्छन् भनी मतदातालाई चिढाउँदा नै स्थानीय निर्वाचनमा नराम्रो हार बेहोर्नुपरेको हो । कांग्रेसलाई पहिलोबाट दोस्रो बनाउनुमा सबैभन्दा ठूलो हात शेरबहादुर देउवाको छ । यसमा देउवाले आत्मालोचना गर्नुपर्छ । र नैतिक जिम्मेवारी लिनुपर्छ । देउवा नसुध्रिए आगामी प्रतिनिधिसभा चुनावपछि एमालेको सरकार बन्न सक्नेछ । उता प्रचण्डले आफूहरू जनताबाट नभई आफ्नै कार्यकर्ता र कमजोर संगठनको कारण हारेको निष्कर्ष निकालेका छन् । सर्वहारा भनाउँदा नेताहरू सुविधाभोगी जीवन खोज्ने, सानो उपचार गराउन परे पनि विदेश रोज्ने, सिद्धान्त कम्युनिष्ट तर गठबन्धन काग्रेससँग गर्ने, वर्गीय मुद्दा छाडेर जातीय राजनीति गर्ने, बहुविवाह गरेर सजायको भागिदार बन्नुपर्ने छोरालाई स्वकीय सचिव र छोरीलाई मेयरमा उम्मेदवार बनाई परिवारवाद लाद्ने जस्ता अनेक कारणले गर्दा माओवादी केन्द्रको यसपाली लज्जाजनक हार भएको हो भन्ने कुरा प्रचण्डले भन्न सक्नुपर्ने हो । सैद्धान्तिक विचलन नै माओवादी हारको प्रमुख कारण हो । राप्रपा कहिले संविधान संशोधनको केही बुँदा राष्ट्रहित विपरीत भएकाले संशोधन गर्न नसकिने त कहिले सकिने भन्दै दोधारे कुरा गर्दा जनताबाट टाढिन पुगेको हो भने उपेन्द्र यादव र विजय गच्छदारको पार्टीले पनि आशातीत मत नल्याउनुमा जातीय राजनीतिलाई छोड्न नसक्नु नै हो ।
– गोपाल देवकोटा
चाबहिल, काठमाडौं

स्थानीय चुनावमा एमालेको तयारीभन्दा धेरै कम सिट आएको हो । कांग्रेसले त हारेर पनि जितेको मान्नुपर्छ । बौद्धिक वर्गले थप्पड दिएका छन्, कांग्रेसलाई । किनभने चुनावको मुखमा आएर नचाहिँदा हर्कत देखायो उसले । त्यसैले लौ त नि हामी गर्छौं तिम्रो आस, तिमी गर्छौ कनिकाको आस भनेर जथाभावी गरे जनताले । खासगरी भोट दुई प्रकारका हुन्छन् । एक, सस्तो र अर्को बौद्धिक । सस्तो भोट सकिँंदै जानेछन् भने बौद्धिक भोट बढ्दै जानेछन् । यो पनि मनन गरौँ, सबैले कि सस्तो बेसाहले त छेर्छ । हेर्दै जाऊँ, जाडोहरू आउँदै गर्नेछन् । कोटहरू पनि सिउँदै जालान्।
– गणेश गोम्चन
धादिङ

 असान्दर्भिक वाम एकताको कुरा
श्याम श्रेष्ठको लेख सान्दर्भिक र महत्त्वपूर्ण लाग्यो । चुनाव
महँंगो हुँदै जाँंदा राजनीतिक दलहरू भित्रका इमानदार कार्यकर्ता पाखा पर्दै गएर समग्र संयन्त्र नै माफियाहरूले कब्जा गर्ने थिति बन्न सक्छ । यसर्थ दलहरूलाई चुनाव उठ्न राज्यकोषबाट अनुदान दिने परिपाटी ठिक हुन्छ । साथै उनले वाम तालमेलको कुरा उठाएका छन्, चुनावमा । तर यो प्रयास त २०४८ सालमा अपनाइएको र असफल भएको अवस्था हो । अर्काको काँंधमा टेकेर हिरो बन्ने अवस्था रह्यो, त्यो समय । फेरि अबको वामको नवाम छुट्याउने कसरी ? यो स्थानीय चुनावमा त सबै वाम नैतिकताको त बलि दिइहालियो नि । एमालेको भुइँतह बलियो भएर उसले चुनाव जितेको हो । तपार्इँले भनेजस्तो कांग्रेस, माओवादी केन्द्र सरकारका गलत कार्यका प्रतिक्रियात्मक
भोट थोरैमात्र थिए । जे होस्, यथार्थ उजागर गर्न खोजिएको
लेख मनपरेकै हो ।
– सुशीलकुमार गौतम
चन्द्रागिरि–१३, काठमाडांै


 राजपाले चुनावमा भाग लिनु हुँदैन
असार ४ गते प्रकाशित रक्षाराम हरिजनको ‘राजपाको द्विविधा र संविधान संशोधन’, पढेंँ । राजपाले चुनावमा भाग लियो भने पनि कति सिट ल्याउँछ ? अरू प्रदेशको चुनावमा ऊ बाहिर रहेकाले केवल २ नम्बर प्रदेशमा उसले भाग लिनुको कुनै औचित्य छैन । उपेन्द्र यादव र विजय गच्छदारले उसैको भोट काट्नेछन् । यसरी उनीहरू नमिलेर राजापाको भोट काटेर तीन ठूला दललाई नै सहयोग गर्नेछन् । अत: राजपाले विना संविधान संशोधन चुनावमा भाग नलेओस् । प्रदेश र संघको चुनावमा भाग लिने सन्दर्भमा अलिक सोच्नुपर्छ । यदि फेस सेभिङको लागि संशोधन हुन्छ भने त्यसमा भाग लिन सकिन्छ । तर सावधान, कुनै सरकारमा सामेल हुनुहुँदैन । सडक र सदनको लडाइँ जारी राख्नुपर्छ । कुनै न कुनै दिन त सफलता मिल्छ नै । मधेसको युवा वर्गलाई संगठित गरी अतिवादतिर नजानेगरी शान्तिपूर्ण आन्दोलनको लागि तयार गर्नुपर्छ ।
– डा. शिवशंकर यादव
छपकैया, वीरगन्ज


 तान्त्रिक शक्तिको चुनाव चिह्न
क्रान्तिका अनेक सपना देखाएर दुनियाँलाई मार्दै, मारिँदै तथा अर्बाैंको भौतिक संरचना ध्वस्त पार्दै देशलाई २० वर्ष पछाडि पारेर स्थापित भएको माओवादी पार्टी चानचुने हुँदै होइन र नेपाल नेपालीको सबभन्दा बढी लगानी भएको महंँगो पार्टी नै यही हो भन्ने कुरामा कसैको दुईमत छँदै छैन । तर यो पार्टीको दसवर्षे ‘जनयुद्ध’ताक चुलिएको लोकप्रियता, स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा एकाएक घटेर ‘एजेन्डा स्थापित, पार्टी विस्थापित’को स्थितिमा पुगेको देख्दा साह्रै दु:ख लाग्छ । यसो हुनुको कारण खोतल्ने विषयमा समीक्षा बैठक पनि बसिरहेकै छ । समीक्षाबाट जेजस्तो निष्कर्ष निस्कन्छ, त्यो सुनाउने, देखाउने कुरा भयो । तर पार्टी दिनानुदिन अलोकप्रिय हुँदै जानुको कारण भने ‘जनता’लाई राम्ररी थाहै छ । कोही पनि आफ्ना कमी–कमजोरी देखाउन चाहँदैनन्, खुसी पार्न र टार्नका लागि अरूले भनिदिएको कुरालाई नै विश्वास मान्ने र आफ्नो आङको भैंसी नदेख्ने अरूको आङमा भने नभएको जुम्रा पनि देखाउन खोज्ने प्रवृत्ति धेरै मानिसमा पाइन्छ । यो सायद माओवादीमा पनि छ । पहिला ठेला बिझाउने हातमा आजकल औंठी बिझाउँछ भन्ने कटाक्ष पनि माओवादीप्रति नै लक्षित छ । माओवादी नेताको जीवनस्तर अति नै विलासी भएको कुरालाई लिएर व्यापक चर्चा भइकन त्यो सेलाइसकेको छ । जे भए पनि पहिला डरले माओवादीको आदेश मान्नेहरू अझै पनि डरैले उनीहरूको विरोध गर्न सक्दैनन् । पहिला उनीहरूसँग अवैधानिक बन्दुकको शक्ति थियो भने अहिले वैधानिक सत्ताको शक्तिसँगै धन र डनको समेत पर्याप्तता छ ।
यसैबीच माओवादी केन्द्रको केन्द्रीय बैठकमा चुनाव चिह्न फेर्ने कुरा उठेको कुरा सुन्दा निकै रमाइलो लाग्यो । हो पनि अहिले भइरहेको हँसिया–हथौडा चुनाव चिह्नले पार्टी क्रियाकलापलाई कुनै प्रतिनिधित्व गर्दैन । त्यसको सट्टा अब उसले तान्त्रिक शक्ति लगाएरै भए पनि यस्तो चुनाव चिह्न बनाउनुपर्छ, जसलाई देख्ने बित्तिकै ‘जनता’ त्यत्तिकै लठ्ठ भएर कालोलाई सेतो र तललाई माथि देखुन्, अनि कुनै पनि चुनावमा भोटजति जनताले खुतुखुतु माओवादीलाई नै हालुन् ।
– कोलनारान श्रेष्ठ
सिर्जनानगर, भक्तपुर


 धरापै–धरापमा राजधानीबासी
‘राजधानीलाई धरापै–धरापले धराप र धराशायी पारेको सोह्रैआना सही विश्लेषण हो । दूरदराजबाट यदि तपाईँ काठमाडौँ आएको खण्डमा जताततै धरापसँग जम्काभेट गर्न पाउनु हुनेछ । राजधानीका रैथानेलाई त चिनिसकेको छ, हरेक धरापले । कहिले पर्खालले कहिले ढलले स्कुले विद्यार्थी गुमाउँदा धराप थाप्ने ठेकेदारलाई धराप पार्नु त कता हो कता, यो राजधानीले
झन्–झन् डरलाग्दा धरापहरू रोजेकामा खुसी छ, ऊ ।
किनकि यहाँ जथाभावी ढल, सडक खनेर आवागमन नै अस्तव्यस्त र कन्तविजोग पार्नेलाई होइन, त्यस्तो सडकबाट हिँड्ने बटुवाहरूमाथि कारबाही गरिन्छ भन्ने राम्ररी थाहा छ, यसलाई । अनि त्यस्ता सडकसँग नाता जोड्नेहरूलाई
कारबाही हैन, पुरस्कृत गरिएको देखेको छ, यसले । उपत्यका अवलोकनार्थ प्रथमत: मिलोमतीका शृङखला नियाल्दै रमणीय, भ्रमणीय र प्रशंसनीय उपत्यकाका अनगिन्ती धरापका पक्षपोषकहरूको ट्रयाप र माखेसाङलोमा तपाईँले आफूलाई
झोस्नु पर्नेछ । बल्ल तपाईँले देख्नु हुनेछ, गणतान्त्रिक राज्य व्यवस्थाको उदाहरणीय कारबाहीमुक्त, धरापयुक्त, त्रासदीपूर्ण, यमराजे खाल्टे अमरावती नगरी । तर सडकमा त के
त्यत्रा खाल्टा छन् र ?
– श्यामसुन्दर कुइँकेल
हाँडीगाउँ, काठमाडौँ


 युवा पुस्तालाई स्वदेशमै रोकौं
देशमा स्थिर सरकार नहुनुको कारण अस्थिरता बढेको छ । धमिलो पानीमा माछा मार्नेहरू सल्बलाइरहेका छन् । दलहरू नै चाहँदैनन्, देशमा स्थिर सरकार बनोस्, देशले गति लेओस्, उनीहरूको उद्देश्य जसरी हुन्छ, कमाउँ भन्ने नै हो । त्यसैले जसरी भए पनि पैसा कमाउन पाए भइहाल्यो । अस्थिरताको कारण दैनिक हजारौं युवायुवती रोजगार तथा उच्च शिक्षाका लागि विदेशिरहेका छन् । यसको रोकथाम कसरी गर्ने भनी सरकार सोच्दैन । अधिकार पाएको शिक्षा मन्त्रालयलाई थाहा छैन, किन यसरी दैनिक युवापुस्ता विदेशिरहेका छन् । यही अवस्था रहे भोलि देश युवाविहीन बन्न सक्छ । बेलैमा सोचांै । युवा पुस्तालाई स्वदेशमै रोकौं । उनीहरू भनेको देशका मेरुदण्ड हुन् । यिनीहरूको हातमा छ, देशको भविष्य । यिनीहरू नै यसरी विदेश पलायन हुने हो भने देशको अवस्था के होला ?
– पुरुषोत्तम घिमिरे
जोरपाटी, काठमाडौं


 लेनदेनमा भ्रष्टाचार
मुख्य पृष्ठमा छापिएको समाचारले ध्यान तानेको छ । हामी ठेकेदारले काम गरेन भनेर गाली गर्छौं, गुणस्तरहीन सामान प्रयोग गरे भनी खनिन्छौं, समयमा काम सकाएन भनी टिप्पणी गर्छौं । तर हामी ठेकेदारप्रति कहिले पनि गम्भीर भएनांै । सरकारी कर्मचारीको अर्जुनदृष्टि कार्यसम्पादन नभएसम्म परिरहेको हुन्छ । डनगिरीले पछ्याइरहेको हुन्छ । सरकारी कर्मचारीको ध्यान ठेकेदारले गरेको कामप्रति भन्दा पनि उसले कहिले कमिसन दिन्छ भन्ने विषयमा केन्द्रित भइरहेको हुन्छ । त्यसैकारण ठेकेदारको काम गर्ने शैली फरक हुन्छ र उसले प्रयोग गर्ने सामान गुणस्तरहीन हुन्छ । यस्ता अदृश्य भ्रष्टाचार प्राय: सबै क्षेत्र र निकायमा हुने गरेको छ । ठेकेदारबाट अकुत सम्पत्ति कुम्ल्याउन खोज्ने राष्ट्रसेवकप्रति गम्भीर बहस हुन जरुरी छ । ठेकेदारले राम्रो काम गरोस्, पारदर्शिता अपनाओस्, हेतु सरकारले ठेकेदारलाई कार्यसम्पादन नगरेसम्म ठेकेदार र सरकार बीचमा समन्वय तथा पारदर्शी मैत्री हुनुपर्छ । भ्रष्टाचार गर्ने कर्मचारीलाई हदैसम्म कारबाही गर्नुपर्छ । ठेकेदारले काम गर्ने सहज वातावरण बनाउनुपर्छ । खिचलो उठाउँदै चेक रोक्ने कर्मचारी तथा निकायलाई सरकारले अनुगमन गरी कारबाही गर्नुपर्छ । यस्तो गरियो भने ठेकेदारले पनि मन लगाएर काम गर्छ र गुणस्तरीय सामानको प्रयोग गर्न उत्साहित हुन्छ ।
– प्रमोद पौडेल
श्रीपुर–१४, वीरगन्ज
भनिएको छ– अनैतिक सम्बन्धजस्तो बलशाली सम्बन्ध अन्य सम्बन्ध हुँंदैनन् । उपभोक्ताबाट उठाइएको मूल्य अभिवृद्धि करसमेत व्यापारीलाई फिर्ता गर्दा सत्तापक्ष, विपक्षी लगायत जिम्मेवार पदमा बस्ने सबैको प्रत्यक्ष/अप्रत्यक्ष संलग्नता नहुने हो भने यसरी कर फिर्ता हुन सम्भव थिएन । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको फोटो
देख्दा लाग्छ, उनलाई आफूमाथि लगाइएका मुद्दा मामिला
ख्याल–ख्यालका मुद्दा हुन् । पैसा हुनुपर्छ, सबै मिल्छन्, मिलाउन
सकिन्छ भन्नेमा यिनी ढुक्क छन् । विगतमा यो देशमा भनिएका ठूला भ्रष्टाचार, साना भ्रष्टाचार र मझौला भ्रष्टाचार सबैको नालिबेली थाहा पाएका खेलाडीजस्ता देखिने यी शर्मा आफूलाई ३३ परोस् अथवा १३ अर्ब केही हुनेवाला छैन जस्तो प्रदर्शन गरिरहेका देखिन्छन् ।
– गोविन्दराज कोइराला
हर्कपुर, नवलपरासी


 जातअनुसार ज्येष्ठ नागरिक फरक
फेसबुकमा आइरहेको यो खबरबारे थाहा चाहियो । एक अति विपन्न ६२ वर्षीय बिरामी बाहुनलाई छिमेकी भाइ सम्पन्न एक गुरुङले भनेछन्, ‘दाजु, मैले त वृद्धभत्ता लिइरहेको छु, तपाईंको वृद्धभत्ता ल्याइदिन्छु उपचार गर्नुस् ।’ कागतपत्र लिई गएका गुरुङ भाइ बिनाभत्ता फर्केर भनेछन्, ‘दाजु, खस–आर्यले त वृद्धभत्ता पाउन ७० वर्ष नाघेको हुनुपर्ने रै’छ नि । जनजाति, दलित र मधेसी तथा मुसलमान आदिलाई मात्र ६० वर्ष पुगेपछि ज्येष्ठ नागरिक भनिने खस–आर्यलाई भने ७० वर्ष पुग्नुपर्ने सरकारी नियम रहेछ ।’ के यो सत्य हो ? सम्बन्धित मन्त्रालयले जवाफ देओस् । मानवअधिकार आयोगलाई फुर्सत छ भने उनले पनि पत्ता लगाओस् । कथित आर्य–खस नामक एनजीओहरू कुन दुलामा लुकेर बसेका छौ ? कस्तो ‘रेसियल इन्डिक्रेमसन’ हो यो ? यदि सचिव र नेताहरू बाहुनै–बाहुन भएको भनाइ हो भने बाहुनहरू सरकारी कर्मचारी, उच्चपद तथा नेताहरूमा कतिजनाले मात्रै पाउने निर्धारण गर । तर त्यसको बदला यो औषधीबिना मर्न लागेको बाहुनले किन यातना भोग्ने ? झिल्का पहिले सानै हुन्छ । डढेलो लागेपछि निभाउन खोजेर हुन्न अर्बपति नेताहरू । आर्य–खसको मौनता र सहनुलाई कमजोरी र कायरता सम्झने भुल नहोस् । जातीय विभेदको देश अन्तत: विलिन भएको कुरा प्रमाणित छ ।
– राजेन्द्र थापा
कौशलटार, भक्तपुर

Page 9
विविधा

हामीले भुलेको त्रिदेशीय विन्दु

- सुधीर शर्मा
कालापानीस्थित भारतीय सैन्य शिविर, विसं २०५३ । तस्बिर : यात्रा थुलुङ

भारत र चीनबीच सन् १९६२ को युद्धपछि ‘हिन्दी–चिनी भाइ–भाइ’ को सम्बन्ध पूर्णत: खण्डित भएको थियो । त्यसपश्चात् उनीहरूको सीमा क्षेत्र सधैंजसो तनावग्रस्त रहँदै आएको छ । यसचोटि फरक के भयो भने भारत–चीन तनाव तिनको सीमामा नभई पहिलोपटक तेस्रो मुलुक (भुटान) मा हुन पुग्यो । छिमेकी शक्तिराष्ट्रहरूको ‘साँढेको जुधाईमा बाछाको मिचाई’ जस्तो बन्ने अवस्थामा भुटान पक्कै पुग्न चाहँदैन, त्यो उसको कूटनीतिक मनोभावले पनि दर्शाइरहेको छ । तर, आफूले नचाहँदा–नचाहँदै पनि यस्तो अप्रिय परिस्थिति आउँदोरहेछ र त्यसनिम्ति तयार भइरहनु पर्दोरहेछ भन्ने दृष्टान्त हाम्रो सन्दर्भमा पनि उत्तिकै लागू हुन्छ । त्यो किनभने भुटानकै जस्तो भूअवस्थितिमा नेपाल छ,
जहाँ भारत र चीन दुवैको सामरिक प्रतिस्पर्धा बेलाबखत महसुस भइरहन्छ ।
भुटानको सेनालाई तालिम दिने भनेर त्यहाँ बसिआएको भारतीय फौजले भुटान–चीन सीमामा पनि चेकपोस्टहरू राखेको छ । र, तिनै टुकडी उत्तरतर्फ दोक्लम पठारमा चीनले बनाउँदै गरेको सडक निर्माण रोक्न जाँदा हालको टकराव सुरु भएको हो । भुटानमा झैं नेपालमा पनि उत्तरतर्फ चिनियाँ सीमा क्षेत्रमा भारतीय सेनाका १८ वटा चेकपोस्टहरू राखिएका थिए, २००८ सालबाट । त्यसलाई तत्कालीन राजा महेन्द्रले २०२६ सालमै हटाएर दूरदर्शिता देखाएका रहेछन् भन्ने हालको दोक्लम द्वन्द्वले थप पुष्टि गरेको छ । त्यसरी हटाइएका पोस्टमध्ये एउटा दार्चुला जिल्लाको टिंकरमा पनि थियो, जो तिब्बती बजार ताक्लाकोट जाने प्रवेशद्वार हो । तर, टिंकरबाट केही पश्चिमतर्फ कालापानी क्षेत्रमा राखिएका भारतीय सैन्य शिविरहरू भने राजा महेन्द्रले पनि रहिरहन दिए । तत्कालीन मन्त्री एवम् लेखक ऋषिकेश शाहले पंक्तिकारलाई भनेको कुरा सही हो भने, त्यसबखत महेन्द्र पनि ‘भारतलाई अरू नचिढ्याउने’ निष्कर्षमा पुगिसकेका थिए । त्यसैको परिणाम हो– कालापानी क्षेत्रमा भारतीय सैन्य उपस्थितिको निरन्तरता । जसरी अहिले दोक्लम प्रकरणका कारण भारत–चीन–भुटान त्रिदेशीय विन्दु विवादमा परेको छ, कालापानी अतिक्रमणले पश्चिमतिरको नेपाल–भारत–चीन त्रिदेशीय विन्दुलाई पनि अस्पष्ट राखिरहेको छ । कतै भुटानको जस्तै अवस्था हाम्रो दार्चुला क्षेत्रमा त आउँदैन ? यसतर्फ पनि विचार
गर्नुपर्ने देखिन्छ । भारत–चीनबीच जारी दोक्लम तनाव चर्केर त्यो सैन्य द्वन्द्वमै रूपान्तरित भयो भने उनीहरूको ३,४८८ किलोमिटर लामो सीमा क्षेत्रभरि अस्थिरता निम्तिन सक्छ । त्यस्तै बेला हो– विवादित भूभागहरू थप विवादमा पर्ने र तिनको दुरुपयोग हुन सक्ने । यसकारण पनि काठमाडौंले कालापानीलाई बिर्सिरहन मिल्दैन ।
कालापानी क्षेत्रमै पर्छ लिपुलेक नाका, जहाँबाट प्राय: सबै मौसममा तिब्बततर्फ आउजाउ गर्न सकिन्छ । कैलाश–मानसरोबर जान चाहने भारतीय तीर्थयात्रीका लागि सबभन्दा नजिकको बाटो हो यो । अचेल उत्तर भारतका बासिन्दाहरू यो तिब्बती–तीर्थ जाने क्रम बढेको सन्दर्भमा लिपुलेक नाका भविष्यमा अरू उपयोगी हुँदै जाने पक्का छ । चीन र भारतको राजधानी दिल्लीलाई जोड्ने सबभन्दा छोटो दूरीको नाका पनि यही हो । त्यसैले यसको धार्मिक, व्यापारिक र सामरिक सबैखाले महत्त्व छ । सामरिक महत्त्व त कति भने कालापानी क्याम्प राखिएको खोंचबाट उत्तरका चिनियाँ डाँडाहरूतर्फ सहजै अवलोकन गर्न सकिँदोरहेछ, चीनबाट पनि त्यसरी नै हेर्न/आउन सकिने होला । २१ वर्षअघि रिपोर्टिङका लागि कालापानी पुग्दा सहकर्मी फोटो पत्रकार यात्रा थुलुङलाई भारतीय सुरक्षाकर्मीले ‘चिनियाँ’ भन्दै गरेको कडा केरकार अहिले पनि सम्झनामा आउँछ । नेपाली भूमिमै भारतीय सैनिकको रोकटोक र खानतलासी आफैंमा अनौठो अनुभूति थियो ।
दार्चुलाको त्यो उत्तर–पश्चिम कुनो ६ दशकभन्दा लामो समयदेखि भारतीय नियन्त्रणमा छ । नेपाल र ब्रिटिस इन्डियाबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिअनुसार नेपाल–भारतको पश्चिमी सीमा महाकाली नदीले छुट्याएको हो । उक्त सन्धिका आधारमा बनाइएका ब्रिटिस इन्डियाका सर्भे नक्साहरूमा लिम्पियाधुरालाई महाकालीको मुहान स्रोत मानिएको छ । पछि–पछि लिम्पियाधुराभन्दा अझ पूर्वको लिपुलेकबाट झर्ने चार गुणा सानो नदीलाई महाकाली भन्न थालियो । अनि १९६२ को युद्धपछि लिपुलेकभन्दा १० किमि दक्षिणको तुल्सी न्युराङ, जो कालापानीबाट बढी चिनिन्छ, त्यहाँ कृत्रिम खोल्सो बनाएर त्यसैलाई महाकालीको उद्गम दाबी गरियो । लिपुलेकलाई नै महाकालीको मुहान मान्दा पनि भारतले त्यहाँ ३५ वर्ग किमिभन्दा बढी नेपाली भूभाग मिचेको देखिन्छ, जहाँ सैन्य शिविरहरू राखिएका छन् ।
दार्चुलाबाट निर्वाचित एमाले सांसद प्रेमसिंह धामीले कालापानी अतिक्रमणबारे आवाज उठाउन थालेपछि त्यो मुद्दा पहिलोपटक राजनीतिक राडारमा आएको थियो । अनि २०५३ सालमा गरिएको स्थलगत रिपोर्टिङले त्यहाँको वस्तुस्थितिलाई सार्वजनिक जानकारीमा ल्यायो । त्यसैताका कालीको उद्गम र कालापानी अतिक्रमणको बेवास्ता गर्दै भारतसँग महाकाली एकीकृत विकाससम्बन्धी सन्धि गरिएपछि त्यो राष्ट्रिय सरोकारको मुद्दा बन्यो । २०५४ सालमा प्रतिनिधिसभाबाट उक्त सन्धि अनुमोदन गरिँदा सँगै पारित राष्ट्रिय संकल्पमा महाकालीको उद्गम तय गर्ने प्रतिबद्धता पनि उल्लेख थियो । त्यसै वर्ष भारतका प्रधानमन्त्री इन्दरकुमार गुजराल काठमाडौं आउँदा कालापानी प्रकरण द्विदेशीय वार्ताको कार्यसूचीमा चढ्यो । त्यसपश्चात् केही वर्षसम्म त्यो राजनीतिक र प्राविधिक दुवै तहका द्विपक्षीय वार्ताहरूमा मुख्य एजेन्डा बने पनि त्यसलाई विस्तारै भुल्न थालियो ।
महाकाली सन्धि र कालापानीको विवादमा रुमल्लिएर उसबेला एमाले पार्टीसमेत फुटेको थियो । एमाले फुटाएर माले बनाएका वामदेव गौतम कालान्तरमा मातृपार्टीमै फर्किए, तर कालापानीबाट भारतीय सेना फर्केन । कुनै मुद्दा चर्किंदा सारा देशले चासो राख्ने, तर अलि समय बितेपछि राष्ट्रिय सरोकारका मुद्दासमेत चटक्कै भूल्ने हाम्रो बानी कालापानी प्रकरणमा पनि दोहोरियो । यस्ता विषयमा संस्थागत स्मरण राख्ने परिपाटी त धमिलिँदै गएको छँदैथ्यो, आम बहस र सरकारको प्राथमिकताबाट पनि त्यो ओझेलमा पर्‍यो । त्यो मुद्दालाई निरन्तर उठाइरहने कार्य सायद एकै जनाले मात्र गरे– सीमा विज्ञ बुद्धिनारायण श्रेष्ठले ।
महाकाली सन्धि संसद्बाट अनुमोदन गराउँदा कालापानी विवाद सुल्झाउने राष्ट्रिय संकल्प गरेका प्रधानमन्त्री शेरबहादुर देउवा नै राजनीतिक जीवनको उत्तरार्धमा अहिले फेरि सरकारको नेतृत्वमा आएका छन् । यसबेला भारत–चीनबीच चर्केको दोक्लम प्रकरणले दक्षिण एसियामा नयाँखाले शीतयुद्ध सुरु हुने र हिमाली राज्यहरूमा भूराजनीतिक ऊहापोह आउन सक्ने संकेत पनि दिएको छ । त्यसैले त्रिदेशीय सीमा क्षेत्रको संवेदनशील भूभागप्रतिको आफ्नो सरोकार नेपालले सम्बन्धित मुलुक (भारत) र अन्तर्राष्ट्रिय समुदायको जानकारीमा राखिरहन
जरुरी छ ।
पछिल्लो समय नेपाली नेतृत्वले कालापानीलाई भारतसँगको कूटनीतिक कार्यसूचीमा समेत राख्न चाहेको देखिन्न । बरु भारत–चीन द्विपक्षीय वार्ताको विषय बन्यो त्यो, अर्कै रूपमा । शक्तिराष्ट्रहरू मिल्दा हाम्रो राष्ट्रिय अखण्डतासँग जोडिएको मामिलालाई समेत कसरी बेवास्ता गर्दारहेछन् भन्ने देखायो त्यसले । चीनका तत्कालीन प्रधानमन्त्री वेन जियाबाओले २०६१ चैत २७–३० मा गरेको भारत भ्रमणका क्रममा गरिएको सीमासम्बन्धी एउटा ‘प्रोटोकल’ ले कालापानी क्षेत्रमाथिको भारतीय दाबीलाई ‘मान्यता’ दिएको थियो । दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा विदेशसचिवस्तरमा हस्ताक्षरित उक्त प्रोटोकलको दफा ५(२) मा लिपुलेकलाई मध्य सेक्टरको भारत–चीन सीमा विन्दु मान्दै सैन्य क्षेत्रमा आपसी विश्वास अभिवृद्धि गर्न त्यहाँ द्विपक्षीय बैठकका लागि संयन्त्र गठन गर्ने उल्लेख गरिएको थियो ।
लिपुलेकलाई भारतीय भूमि मान्दै त्यस्तो प्रकृतिको प्रोटोकलमा चीनले हस्ताक्षर गर्नु आफैंमा उदेकलाग्दो विषय हो, जो चीनकै पूर्वधारणा विपरीत थियो । उदाहरणका लागि, २०५६ भदौ १७ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ राजदूत जङ सुयाङले कालापानीलाई नेपाली भूभाग मान्दै त्यसै छेउछाउ पर्ने त्रिदेशीय विन्दु पहिल्याउन चीन–नेपाल–भारत तीनवटै मुलुकबीच संयुक्त वार्ता हुनुपर्ने धारणा राखेका थिए । यस्तै प्रकृतिको प्रतिक्रिया बेइजिङबाट आएको थियो । तर, आफ्नै संस्थागत स्मरणलाई पन्छाउँदै चीनले लिपुलेकप्रतिको नेपाली संवेदनशीलतालाई बेवास्ता गर्नुको कारण थियो– भारतसँग बढ्दो उसको हिमचिम । त्यो त्यही कालखण्ड थियो, जुन बेला चीनले सिक्किमको भारतमा विलयलाई पनि मान्यता दिँदै थियो । अनि फेरि लिपुलेक यस्तो नाका थियो, जसमार्फत दिल्लीलगायत उत्तर भारतमा आफ्नो व्यापार विस्तार गर्न उसलाई निकै अनुकूल हुन्थ्यो ।
भारत र चीनले नेपाली भूमि (लिपुलेक) लाई लिएर आफूखुसी सम्झौता गरेको र भारतीय अतिक्रमणलाई वैधता दिने चीनको कदम त्रुटिपूर्ण रहेको सम्बन्धमा मैले २०६२ जेठमा कान्तिपुर र नेपाल म्यागेजिनमा आवरण रिपोर्ट लेखें । काठमाडौंस्थित चिनियाँ दूतावासले त्यसप्रति आपत्ति जनाउँदै विज्ञप्ति निकाल्यो । त्यो रिपोर्टिङपछि हाम्रो परराष्ट्र संयन्त्र पनि थोरै चनाखो भएजस्तो लागेको थियो । तर, होइन रहेछ । एक दशकपछि उही रोग बल्झियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा २०७२ जेठ १ गते भएको ४१ बुँदे सम्झौताको २८ औं बुँदामा भारत र चीनबीच ‘लिपुलेक नाकाबाट सीमा व्यापार अभिवृद्धि गर्ने गरी वार्ता अघि बढाउने’ सहमति भएको उल्लेख गरियो । चीनले फेरि पनि कालापानीमाथिको भारतीय अतिक्रमणलाई ‘अनुमोदन’ गर्न खोजेजस्तो देखियो । सी चिनफिङ र मोदीबीच मधुमास चलिरहेको चरण थियो त्यो । खासमा दस वर्षअघिको कूटनीतिक धक्काबाट काठमाडौंले कुनै पाठ सिकेको रहेनछ । त्यसबीचमा कम्तीमा चिनियाँ पक्षसँग आफ्नो संवेदनशील भूमिलाई लिएर भारतसँग कुनै लेनदेन नगर्न नेपालले कूटनीतिक ‘लबिइङ’ गर्न सक्थ्यो, त्योसमेत गरेको देखिएन । फलत: नेपाल फेरि प्रतिक्रियात्मकमात्र बन्नुपर्‍यो । दिल्ली र बेइजिङ दुवैतिर आपत्ति जनाउँदै पत्राचार त गरियो, तर त्यसले दुई छिमेकीको सहमतिलाई उल्टाउने हैसियत राखेन । उसबेला खासगरी चीनस्थित नेपाली राजदूत महेश मास्केले चिनियाँ पक्षलाई सम्झाउन निकै दौडधुप गरे, तर दिल्लीसँग मधुमास चलिरहेका कारण हुन सक्छ– बेइजिङले भारतसँगको सहमति सच्याउन चाहेको देखिएन, स्वाभाविक कूटनीतिक सदासयता जनाए पनि ।
चीन अहिले कसरी सोच्दै छ थाहा छैन, तर दोक्लम द्वन्द्वका कारण भारतसँग बढेको दूरीले दक्षिण एसियातर्फ उसको हेराइमै मूलभूत बद्लाव आउँदै गरेको संकेत मिल्छ । सिक्किम विलयलाई मान्यता दिने दस वर्षअघिको निर्णय उल्ट्याउन चाहेको जनाउ उसले आफ्ना मुखपत्र र ‘थिंकट्यांक’ मार्फत जसरी दिँदै छ, त्यसले धेरै कुरा दर्शाउँछ । सिक्किमप्रति चीनको सोच बदलिएको हो भने पनि नेपालले त्यसप्रति धेरै चाख राख्नु कूटनीतिक दृष्टिले जोखिमपूर्ण हुन सक्छ । तर, सिक्किमसँगै लिपुलेक/कालापानीलाई पनि भारतीय भूमिका रूपमा मान्यता दिने चिनियाँ धारणा सच्याउन भने नेपालले प्रेरित गर्नुपर्छ । दोक्लम द्वन्द्वले यो कूटनीतिक अवसर दिँदै छ, जसलाई नेपालले गुमाउनु हुन्न ।
जहाँसम्म भारतको कुरा हो, कालापानी क्षेत्रबाट आफ्नो सैन्य उपस्थिति हटाउन ऊ सहजै तयार होला भन्ने छैन । त्यस क्षेत्रमा जोडिएको उसको सुरक्षा संवेदनशीलता पनि गहिरै छ । त्यसमा असर नपर्नेमा उसलाई आश्वस्त तुल्याउँदै निरन्तर कूटनीतिक लबिइङ जारी राखेमा एउटा विन्दुमा त्यो परिणाममुखी साबित हुन सक्छ । आखिर आईके गुजरालको प्रधानमन्त्रीत्वकालमा भारतको राजनीतिक नेतृत्व कालापानीबाट सैन्य टुकडी फर्काउन सिद्धान्तत: तयार भएकै हो । त्यहाँ रिक्त थलोमा नेपालले आफ्नो पल्टन प्रतिस्थापन गर्न नपाउनेमात्र उसको सर्त थियो । यद्यपि आकार लिनै लागेको त्यो भद्र समझदारीलाई त्यहाँको प्रतिरक्षा संस्थापनले आनाकानी गरेर टारिदिएको घटनाक्रम भारतका लागि तत्कालीन राजदूत भेषबहादुर थापाको स्मरणमा ताजै छ । अहिले द्विदेशीय सम्बन्ध नवीकरणका लागि गठित प्रबुद्ध समूहमा नेपालतर्फको अगुवाइ थापाले नै गरेका छन् । कालापानी अतिक्रमणको विषयलाई सम्भव भएमा प्रबुद्ध समूहको कार्यसूचीमा राखिनुपर्छ । र, नेपालले यसलाई भारतसँगको द्विपक्षीय वार्तामा फेरि चढाउन पनि अग्रसरता लिनुपर्छ । हालको दोक्लम द्वन्द्व केही समयमा मथ्थर हुँदै जाला । तर भारत र चीनबीच पछिल्लो दुई दशकयता बढेको विश्वासको सम्बन्ध भने सायद लामै समय टुट्नेछ । र, यसले दक्षिण एसियामा नयाँ शीतयुद्धको समेत थालनी गर्न सक्छ । यस्तो अवस्थामा यी दुई शक्तिराष्ट्रमाझ रहेको नेपालजस्ता मुलुकको कूटनीतिक एवम् सामरिक महत्त्व ह्वात्तै बढ्नेछ । नेपालले कूटनीतिक कौशल देखाउन सक्ने हो भने भारत र चीन दुवैसँगको द्विपक्षीय सम्बन्धमा उल्लेख्य उपलब्धि हासिल गर्न सक्छ। पश्चिमतर्फको त्रिदेशीय सीमा विन्दु निर्धारण गर्ने र कालापानी फर्काउने अनुकूलता पनि आउन सक्छ । तर त्यसका निम्ति चाहिने एकमात्र सर्त हो– राजनीतिक नेतृत्वको इच्छाशक्ति।

विविधा

बीपी दर्शन र कांग्रेस

- लोकेश ढकाल

देशका ६ प्रदेशमा दुई चरणमा गरिएको स्थानीय तहको निर्वाचनले स्थानीय सरकार गठन हुनु नेपाली राजनीतिको सुखद पक्ष हो । तर दुर्भाग्यवश २ नं. प्रदेशको स्थानीय तहको निर्वाचनलाई असोज २ मा सारिएको छ । प्रदेश र संघीय संसदको निर्वाचन संविधानले तोकेको समयमा सम्पन्न गरी संविधानलाई कार्यान्वयन गर्दै देशमा विद्यमान पट्यारलाग्दो लामो राजनीतिक संक्रमणको अन्त्यसँगै राजनीतिक स्थायित्व कायम गर्ने चट्टानी चुनौती सरकार र राजनीतिक दलसामु टड्कारो रूपमा उभिएको छ । नेपाली राजनीतिको यही कठिन चुनौतीको बीचमा आज हामी राजनेता बीपी कोइरालाको ३५ औं स्मृति दिवसमा उहाँलाई सम्मानपूर्वक स्मरण गरिरहेका छौं ।
३५ वर्ष अगाडि आजकै दिन देश र जनताप्रति इमानदार महान राष्ट्रवादी एवं प्रजातन्त्रवादी नेता बीपी कोइरालाको निधन भयो । उहाँको निधनपछिको ३५ वर्षमा देशको राजनीति धेरै उतार–चढाव पार गर्दै आजको चुनौतीपूर्ण मोडमा आइपुगेको छ । आज देश बीपीले कल्पना गरेको विचार र सिद्धान्तको बाटोमा छैन । स्वयम् बीपी समेतले स्थापना गरेको र लामो समयसम्म नेतृत्व गरेको ऐतिहासिक गौरवशाली प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस आफैं उहाँको विचार र सिद्धान्तको मार्गमा छैन ।
दूरदर्शी नेता बीपीले ३५/४० वर्ष अगाडि देशको राजनीतिक भविष्यप्रति जेजस्तो अनुमान र विश्लेषण गर्नुभएको थियो, त्यो आज सत्य सावित भैरहेको छ । उहाँले भन्नुभएको थियो– ‘विदेशी आई हामीलाई ठूलठूला सद्भाव देखाउलान्, केही गर्लान् । त्यसमा हामी अल्मलिन थाल्छौं, त्यसो गर्नु हुँदैन ।’ बीपीले भनेजस्तै विगतको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणमा विदेशी लगानी र सौजन्यमा नेपाली राजनीति वा शान्ति प्रक्रिया र संविधान निर्माणमा विदेशी वा छिमेकीहरू कति प्रभावी भए, सहजै अन्दाज गर्न सक्छौं ।
महान राजनीतिक चिन्तक एवं विचारक बीपीले नेपालको सन्दर्भमा राखेको राजनीतिक प्रस्तावलाई राजसंस्थाले अस्वीकार गरेकै परिणाम एकदिन देशबाट राजसंस्थाले दु:खदायी पतन व्यहोर्नुपर्‍यो भने आफ्नो संस्थापक नेताको राजनीतिक सोच, विचार र सिद्धान्तलाई परित्याग गर्दा आज नेपाली कांग्रेस पार्टी इतिहासकै सबैभन्दा कठिन मोडमा उभिन बाध्य भएको छ ।
‘म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिका बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरूलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । नेपाली कांग्रेसमा मैले लिएको राजनीतिक अडान र मेरो दृष्टिकोणलाई गौण बनाइनेछ । मैले नेपाली कांग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्ट्रियता, प्रजातान्त्रिक संस्थाहरू, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा मेरा अडानका निरन्तरता छन्,’ बीपी भन्नुहुन्थ्यो । करिब ४० वर्ष अगाडि बीपीले व्यक्त गरेको उपरोक्त मार्मिक एवं दूरदर्शी विचारले बीपीको दूरदर्शिता र वर्तमान कांग्रेसको दशा र दिशाहीनतालाई राम्रैसँग चित्रण गर्छ । निश्चय: नै बीपीले भन्नुभए जस्तै आज स्वयम् कांग्रेसबाटै उहाँमाथि व्यापक भ्रम सिर्जना गरिएको छ, उहाँको विचार र दर्शनलाई कांग्रेसकै नेताहरूबाट आ–आफ्नो राजनीतिक स्वार्थमा अपव्याख्या गरिएको छ, बीपीलाई अपमान गरिएको छ ।
राजाको मुर्खतापूर्ण निरंकुश कदमविरुद्ध अर्को अतिवादी शक्तिहरूसँग मिलेर क्रान्ति गर्ने नाममा हाम्रा नेताको राजनीतिक कुण्ठा, मुलुकको प्रथम राष्ट्रपति बन्ने उत्कट अभिलाषा र सन्तानमोह प्रभावी भएर पार्टीको स्थापनाकालीन मौलिक नीति तथा सिद्धान्त र देशको राजनीति तथा पार्टीका विषयमा बीपीको राजनीतिक सोच, विचार र सिद्धान्तमा नेपाली कांग्रेसले पटक–पटक सम्झौता गर्न पुगेको छ । त्यसकारण आज कांग्रेसको चारतारे झण्डामा बीपीको तस्बीर धुमिल हुनपुगेको छ । कांग्रेसको चुनावी घोषणापत्र र राजनीतिक दस्तावेजहरूमा बीपीको सोचविचार र चिन्तनको सुगन्ध आउन छाडेको छ ।‘जुन दिन नेपाली कांग्रेसले राष्ट्रियताको अडान छाड्नेछ, यो निरर्थक भएर जानेछ । जुन दिन यसले प्रजातन्त्रको आदर्श छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’ बीपीले ३५ वर्ष अगाडि चिन्ता गरेको जस्तै अवस्थामा नेपाली कांग्रेस पुगेको छ । सिद्धान्त र आदर्शलाई ख्याल नगरी केवल सत्ताकेन्द्रित राजनीति गर्दा कांग्रेसको राष्ट्रियतासँगको नाता कमजोर हुनपुगेको छ, प्रजातन्त्रको आदर्शको स्तम्भ हल्लिन पुगेको छ ।
बीपीले आफ्नो कुरा स्वयम् पार्टीका साथीहरूले बुझिदिएनन् भनेर बरोबर गुनासो गर्नुभएको थियो । उहाँको निधनपछि कांग्रेसले उहाँको विचारलाई कति पछ्यायो, हामी सहजै अनुमान गर्न सक्छौं । सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा ०४६ सालमा भएको जनआन्दोलनदेखि कांग्रेसले बीपीको विचारलाई आंशिक रूपमा परित्याग गरेको थियो भने माओवादीसँग गरेको १२ बुँदे समझदारी र त्यसमा टेकेर गरेको २०६२/०६३ जनआन्दोलन र आन्दोलनको सफलतापछि सरकार–माओवादीबीच भएको बृहत शान्ति सम्झौता र तत्कालीन सात दल र माओवादी र सरकार र माओवादीबीच विभिन्न चरणमा भएका राजनीतिक सहमतिमा कांग्रेसले आफ्नो स्थापनाकालीन सिद्धान्त र बीपी विचार र चिन्तन बमोजिम अडान राख्नै सकेन । प्रजातन्त्र (लोकतन्त्र) र शान्ति प्रक्रियाका नाममा अमूर्त रूपमा जनआन्दोलनको भावना भन्दै नानाभाँतीका सम्झौता गर्दै गयो र कांग्रेस बीपी चिन्तन र विचारबाट पुरै विमुख हुनपुग्यो ।
अहिले कांग्रेसले उग्रवामपन्थी दल माओवादी केन्द्रको सहयोगमा सरकारको नेतृत्व गरिरहेको छ । हिजो माओवादी नेतृत्वको सरकारमा सम्मानजनक रूपमा सहभागी हुँदा र अहिले स्वयम् सरकारको नेतृत्व गरिरहँदा स्थानीय तहको ६ वटा प्रदेशमा भएको निर्वाचनमा कांग्रेसले आशातित सफलता प्राप्त गर्न सकेन । निर्वाचनमा दोस्रो स्थानमा आउँदासमेत एक प्रकारले कांग्रेस चुनाव पराजयको मानसिकतामा डुबेर बसेको छ । विगतमा जस्तै जित्नेले आफ्नो कारणले जितेको, हार्नेले अर्काको असहयोगले हारेको भनेर एकले अर्कोलाई घात–अन्तरघातको आरोप लगाएर बस्ने बाहेक समग्रमा कांग्रेस किन दोस्रो हुनपुग्यो, अहिलेसम्म समीक्षा गरेको छैन । नेपाली कांग्रेसजस्तो मुलुकको प्रमुख तथा आमजनता र दुनियाँले विश्वास गर्ने पार्टीले प्रचण्डलाई प्रधानमन्त्री सुम्पेर सत्तामा सहकार्य गर्नुको राजनीतिक औचित्य आम जनता र कार्यकर्ताबीच पुष्टि गर्नसकेको छैन ।
संविधान जारी भएको पृष्ठभूमिमा ५ महिना भारतीय नाकाबन्दी खेपेको, सरकारले चीनसँग महत्त्वपूर्ण सम्झौता गरेको आदि कारणबाट तथाकथित राष्ट्रवादको आडमा केपी ओली लोकप्रिय बनेको अवस्थामा उनको सरकारलाई पतन गराएर माओवादी नेतृत्वको सरकार स्वीकार गर्नु कांग्रेसका लागि कति फलदायी भयो ? सरकार र संसदीय फाँट दुवैमा कांग्रेसको भूमिका प्रभावकारी हुनसक्यो ? यसको मूल्याङ्कन अझैसम्म भएको छैन ।
प्रचण्ड सरकारले राम्रो कामको जस आफूमात्र लिने र खराबजति सबै कांग्रेसको थाप्लामा बोकाउने क्रममा राजदूत नियुक्ति, आईजीपी नियुक्ति, प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने आधारहीन कार्यका कारण निर्वाचनमा कति क्षति पुग्यो ? पार्टी सिद्धान्त र आदर्श विपरीत सर्वोच्च अदालतको फैसलाविरुद्ध पार्टी उभिनु, स्थानीय तहको निर्वाचनमा चितवन लगायतका जिल्लामा सिद्धान्तहीन ढङ्गले माओवादीसँग गठबन्धन गरिनुले कांग्रेसलाई के कति नोक्सान भयो ? वरिष्ठता, योग्यता, लोकप्रियता र चुनाव जित्न सक्ने आधार आदिलाई ख्यालै नगरी विवेकहीन ढङ्गले केवल गुटगत आधारमा टिकट वितरण गरेको आदि कारणले निर्वाचनमा कति असर गर्‍यो ? र पार्टीको कमजोर निर्वाचन अभियान र हल्का व्यवस्थापन निर्वाचन पराजयको कारण बन्न सक्छ कि सक्दैन ? यी सब समग्र सवालमा कांग्रेसको आसन्न केन्द्रीय कार्यसमिति बैठकले कस्तो समीक्षा गर्ला ? निष्ठावान आम कार्यकर्ताका लागि चासो र प्रतीक्षाको विषय बनेको छ । कांग्रेसले माथि उल्लेखित सवालहरूमा यथार्थको धरातलमा समीक्षा गर्दै आउँदो प्रदेश नं. २ को स्थानीय निर्वाचन, प्रदेशसभा र संघीय संसदको निर्वाचनका लागि स्पष्ट रणनीति र कार्यनीति निर्माण गर्न विलम्ब गर्नु हुँदैन । यसका लागि पार्टीले पराजयको पीडामा छट्पटाएर बस्नुको बदला पराजयबाट सिक्दै कमजोरीलाई सुधार गर्न पार्टीको कमजोर एवं बरालिएको वैचारिक धारलाई सशक्त बनाई कमजोर बन्दै गएको राष्ट्रियताको नाता बलियो बनाउन बीपीको विचार र चिन्तनमा ‘रिभिजिट’ गर्न आँटिलो कदम चाल्नुको अर्को विकल्प छैन ।
२०१७ पुस १ को निरंकुश कदमपछि कठोर ८ वर्ष कारावास र त्यसपछिको अर्को ८ वर्षको कष्टकर भारत निर्वासनसमेत गरी १६ वर्षको राजनीतिक योग र तपस्याले बीपीले राजनीतिक रूपमा बुद्धत्व वा सिद्धि प्राप्त गर्नुभएको थियो । त्यसैको परिणाम हो, बीपीले नेपाली राजनीतिलाई एउटा बाटो देखाउनुभयो । राष्ट्रियता, प्रजातन्त्र र देश विकासका लागि एउटा मार्ग कोर्नुभयो । अझै पनि त्यो मार्गबाट कांग्रेससहित अन्य राजनीतिक दल हिँड्ने हो भने राष्ट्रियता बलियो हुन्छ, प्रजातन्त्र बलियो हुन्छ, जनता बलिया हुन्छन्, समग्रमा देश बलियो हुन्छ । कांग्रेस त यसै बलियो हुन्छ ।

विविधा

मानसिक स्वास्थ्यको ख्याल

- बालिका थपलिया

शरीरलाई सञ्चालन गर्ने रिमोट कन्ट्रोल मस्तिष्क हो । आफ्नो दिमागले जे अह्राउँछ, हामी त्यही कार्य गर्छौं । मस्तिष्कमा कुनै समस्या आएन भने हाम्रो दैनिक क्रियाकलापमा सन्तुलन आउँछ । तर गडबडी आए हाम्रो सिङ्गो जीवनमा प्रभाव पर्छ । मानसिक स्थिति नै हाम्रोलागि मार्गदर्शक भएको हुनाले यसको महत्त्वबारे जान्नुपर्छ । मानसिक स्वास्थ्यमा के कस्ता तत्त्वले असर पार्छन् भन्ने बारेमा बुझ्यांै भने मानसिक रूपमा स्वस्थ रहने उपाय पनि जान्न सक्छांै । मस्तिष्कमा समस्या आउनुको पछाडि जन्मजात अर्थात आमाको गर्भावस्थादेखि लिएर जन्मपश्चात जुनसुकै उमेर पनि जोडिएको हुनसक्छ । वंशाणुगत रूपमा पनि यो हुनसक्छ । आमाबाबु अथवा अन्य कुनै नातेदारमा यस समस्याको लक्षण देखिए अन्य पुस्तामा सर्न पनि सक्छ । मानसिक अस्वस्थता मानसिक अपांगता निम्त्याउन सक्ने भर्‍याङ हो । त्यसैले हामी यसको गहिराइसम्म पुग्नुपर्छ । मानसिक अपांगतालाई तीन प्रकारमा वर्गीकरण गरिएको छ । मानसिक अस्वस्थता, बौद्धिक अपांगता र अटिजम । मानसिक अस्वस्थताले जीवनको जुनसुकै मोडमा सताउन सक्छ । बौद्धिक अपांगता र अटिजमचाहिँ धेरैजसो जन्मजात हुनसक्छ । कुनै किसिमको दुर्घटनामा परेर दिमागमा चोटपटक लागे अन्य उमेरमा पनि बौद्धिक अपांगता हुनसक्छ । मानसिक विराम राम्रो औषधी–उपचार पाए वा परिवार, आफन्तजन र साथीभाइको दर्बिलो साथ पाए रोकथाम हुनसक्छ । तर बौद्धिक अपांगता र अटिजमको औषधीद्वारा प्रभावकारी उपचार गर्न सकिँदैन । यस्तो समस्या भएका व्यक्तिहरूलाई जीवनोपयोगी व्यावहारिक सीप र ज्ञान प्रदान गर्न सकिन्छ ।
मानसिक अस्वस्थताका हाँगाबिँगा पनि छन् । चिन्ता, निराशा, गम्भीर मानसिक समस्या, छारेरोग, मस्तिष्क पक्षाघात, समूहमा भएको बेला लड्नु आदि समस्यालाई यस वर्गमा राख्न सकिन्छ । त्यस्तै बढी रक्सी तथा लागूपदार्थको सेवन, अत्यधिक परिश्रम गर्नु, निद्रा नआउनु जस्ता कारणले पनि जीवनको मोडलाई मानसिक अपांगताको कुइनेटोसम्म धकेलिदिन सक्छन् । मानसिक विरामले चरम रूप लिँदै जाँदा मानिसले आत्महत्या गर्न सक्छन् । मानिसमा चिन्ताको तह बढ्दै गएपछि जीवनलाई सकारात्मकभन्दा बढी नकारात्मक तरिकाले हेर्न थाल्छ । कतै खुसी छाएको देख्दैन । नदेखेको कुरा देखेको र नसुनेको कुरा पनि सुनेको भ्रममा पर्छ । एउटा भनाइ नै छ, ‘चिन्ताले चितामा पुर्‍याउँछ ।’ त्यसैले कडा खालको मानसिक विरामीलाई औषधी–उपचार गर्नुका साथसाथै उनीहरूसँगै उनीहरूका अभिभावकलाई मनोसामाजिक शिक्षा दिँदा लाभदायक हुनसक्छ ।
मस्तिष्कमा आएको गडबडीबाट छारेरोग लाग्न सक्छ । जब दिमागमा असाधारण विद्युतीय तरंगले असर गर्छ, तब छारेरोगको लक्षण देखिन सक्छ । बेहोश भएर लड्नु, थरथर काम्नु, मुखबाट फिँज काढ्नु, जिभ्रो टोक्नु, हातखुट्टा अररो हुनु आदि यस्तो बिरामीमा देखिने लक्षण हुन् । नियमित औषधी सेवन गरे यो रोग निको हुनसक्छ । कम्तीमा दुई वर्षसम्म यसको औषधी खानैपर्छ ।
मस्तिष्कमा कुनै किसिमको चोट लागे वा बच्चा जन्मिनुभन्दा अगाडि, जन्मिने क्रममा अथवा जन्मिने बित्तिकै दिमागमा अक्सिजनको कमीले गर्दा गम्भीर खालको असर पुगेको छ भने मस्तिष्क पक्षाघात हुने सम्भावना अधिक हुन्छ । यसले मांसपेशीमा संकुचन पैदा गरेर शारीरिक सन्तुलनलाई अव्यवस्थित तुल्याइदिन्छ । जसले गर्दा दैनिक जीवनका कार्यहरू गर्न अप्ठ्यारो हुन्छ । समग्र जीवनयापन शैलीलाई नै प्रभावित गर्न सक्छ । त्यसैले यस्तो हुन नदिन आमाबाबुले सचेतना अपनाउनुपर्छ । कुनै–कुनै व्यक्ति मान्छेको भिडभाड भइरहेको बेलामा अर्धबेहोश हुन्छन् । बिरामले छोपेको बेला काम्ने, एक्लै बोल्ने, आफूले लगाएको लुगा च्यात्ने, कपाल तान्ने, दाह्रा किट्ने, घाँटी थिच्ने, बोली बन्द भएर इसाराले मात्रै बोल्ने, हातखुट्टा दह्रो बनाइराख्ने गर्छन् । यस्तो समस्याले एकदेखि अर्को गर्दै अरूलाई पनि सताउन सक्छ । यस्तो लक्षण देखिएको बेला बिरामीलाई बढी चलाउनु–बोलाउनु हुँदैन । विस्तारै शान्त रहन दिनुपर्छ ।
अत्यधिक रक्सी पिउँदा पनि मानसिक अस्वस्थताको जटिल परिस्थिति सिर्जना हुनसक्छ । ड्रग्स र अन्य खालका लागूपदार्थले पनि मानिसको दिमागलाई विकृतिले भरिपूर्ण बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छन् । नसामा फँसेको मान्छेले जसरी पनि आफ्नो आवश्यकता पूर्ति गर्न खोज्छ । यसले उसको मानप्रतिष्ठा, सम्पत्ति, स्वास्थ्यदेखि लिएर जीवनका हरेक पक्षमा अवरोध सिर्जना गरिदिन्छ र अन्त्यमा घर न घाटको बनाएर ज्यानसम्म लिन सक्छ । त्यसैले यस किसिमका रोगहरूको समयमै सही पहिचान गरेर उपचार गर्नसके रोकथाम गर्न सकिन्छ ।
बौद्धिक अपांगता मानसिक अपांगताको अर्को भाग हो । उमेर अनुसारको मानसिक वृद्धि नहुनुलाई यो वर्गमा राख्न सकिन्छ । यो समस्या भएका मानिसहरू जहिल्यै पनि बच्चाको जस्तो व्यवहार गर्छन् । दैनिक क्रियाकलाप सञ्चालन गर्न अरूको सहारा लिनुपर्छ । पढाइ, लेखाइमा पनि अरू बच्चाहरूको भन्दा ढिलो सुधार हुन्छ । हामी बौद्धिक अपांगताको पूर्णतया उन्मूलन त गर्न सक्दैनौं, तर रोकथामचाहिँ गर्न सक्छौं । जन्मिने बित्तिकै बच्चा रोएन भने दिमागमा अक्सिजन पुग्न सक्दैन र समस्या उत्पन्न हुन्छ । त्यसैले स्वास्थ्य संस्थामै बच्चाको जन्म दिनुपर्छ भनेर जनमानसलाई अभिप्रेरित गर्नु अनिवार्य छ ।
मस्तिष्कको नसासम्बन्धी विकासमा समस्या आएर अटिजम हुनसक्छ । आफ्नो बच्चामा अटिजम छ भनेर आमाबाबुले ३ वर्षको उमेरभित्रैमा छुट्याउन सक्छन् । यस्तो समस्या भएका बच्चाहरूले आँखा जुँधाएर कुरा गर्न सक्दैनन् । साथीभाइ बनाएर खेल्न सक्दैनन् । बोलाउँदा प्रतिक्रिया दिन सक्दैनन् । कहिले एकोहोरो रोइरहन्छन् र कहिले हाँसिरहन्छन् । उनीहरूमा राम्रोसँग भाषा विकास हुन सक्दैनन् । कोही–कोही पहिला अलिअलि बोले पनि पछि बोली हराएर जान सक्ने अवस्था आउँछ । त्यसैले आफू कुन अवस्थामा छु भनेर उनीहरूले व्यक्त गर्न सक्दैनन् । अरू सामान्य बच्चाले खेलौनाहरू भताभुङ्ग पारेर राख्छन् भने अटिजम भएका बच्चाले मिलाएर राख्छन् । उनीहरूसँग बोलेर राम्ररी सञ्चार गर्न सकिँदैन, त्यसैले चित्रको माध्यमबाट केही हदसम्म भए पनि ज्ञान आदान–प्रदान गर्न सकिन्छ । शरीरको हरेक क्रियाकलापको सञ्चालक दिमागलाई सही स्वरूपमा राख्न हाम्रो सकारात्मक प्रयासले अहम् भूमिका खेल्न सक्छ । मानसिक रूपमा अस्वस्थ मानिसलाई हेलाहोचो गर्नु हुँदैन । मनोपरामर्शलाई व्यापक बनाउनुपर्छ । आफूलाई मात्र होइन, अरूलाई पनि स्वस्थ बनाउन तत्परताका साथ अघि बढ्न जरुरी छ शरीरको हरेक क्रियाकलापको सञ्चालक दिमागलाई सही स्वरूपमा राख्न हाम्रो सकारात्मक प्रयासले अहम् भूमिका खेल्न सक्छ ।

 

Page 10
शिक्षा

इक्यान मेला सुरु

काठमाडौं (कास)– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा शैक्षिक मेला सुरु भएको छ ।नेपालका लागि श्रीलंकाली राजदूत डब्लु एस परेराले मेलाको उद्घाटन गरेकी हुन् । मेलामा भारत, चीन, बंगलादेश, अस्ट्रेलिया, बेलायत, न्युजिल्यान्ड, क्यानडा, श्रीलंका लगायतका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयका स्टलहरू छन् । त्यस्तै, विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिने कन्सल्टेन्सीहरूका स्टल पनि छन् । उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुकमा अध्ययन गर्न जान चाहने विद्यार्थीले सम्बन्धित मुलुकका शिक्षा र भिसा नीति, प्रवेशको आधार, छात्रवृत्तिलगायतका जानकारी पाउन सक्छन् । उद्घाटन कार्यक्रममा श्रीलंकाली राजदूत परेराले विदेशका कलेज तथा विश्वविद्यालयका शिक्षाका राम्रा कुरा नेपालमा पनि लागू गराउनेतर्फ पहल गर्न इक्यानलाई आग्रह गरिन् । इक्यान अध्यक्ष प्रकाश पाण्डेले उच्चशिक्षाका लागि विदेश जान रोक्नु समस्याको समाधान नभएको बताए । स्वदेशमा पर्याप्त अवसर सिर्जना हुन नसकेकाले विद्यार्थीहरू बाहिर जान बाध्य रहेको उनले सुनाए ।

शिक्षा

पढाइ स्नातकोत्तर, दरबन्दी प्राविमा

- विमल खतिवडा
भरतपुरस्थित नारायणी नमुना विद्यालयमा कक्षा ९ मा पढाउँदै विन्दुकुमारी सापकोटा । तस्बिर : विमल खतिवडा/कान्तिपुर

चितवन– भरतपुर–१२ की बिन्दुकुमारी सापकोटाले नेपाली विषयमा स्नातकोत्तर गरिन् । २०६१ मा प्रावि तहको शिक्षकका लागि शिक्षा आयोगले खुलाएको परीक्षामा सहभागी भइन् । नाम निस्कियो । पेसामा आबद्ध नहुँदै त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सकेकी उनले सुरुमा खैरहनीको बसौलीमा अध्यापन गरिन् । अहिले भरतपुरको नारायणी नमुना माविमा छिन् ।दरबन्दी प्राविको भए पनि सापकोटा मावि तहलाई पढाउँछिन्, कक्षा ८ देखि ११ सम्म नेपाली । तलब सुविधा भने प्राविकै छ । ‘माविमा पढाए पनि तलब सुविधा कम छ,’ उनले भनिन्, ‘विद्यार्थीसँग घुलमिल हुँदा यी सबै समस्या बिर्सन्छु, अरू समस्या छैन ।’तर, उक्त विद्यालयमा यस्तो विडम्बना उनले मात्रै भोग्नुपरेको छैन ।
भरतपुर–७ का भुवन अधिकारी र ११ वडाका सन्तोष थापाले अंग्रेजीमा स्नातकोत्तर गरे । ‘शिक्षण पेसामा लागेको ७ वर्ष भयो,’ भुवनले भने, ‘यो स्कुलमा पढाउन थालेको सातै वर्ष भयो ।’ उनी पनि प्राविका शिक्षक हुन् । स्नातकोत्तर नगर्दै माविका विद्यार्थीलाई पढाउँथे, सुरुको एक वर्ष छोडेर । दुई वर्षअघि वीरेन्द्र बहुमुखी क्याम्पसबाट स्नातकोत्तर सकेका उनी अहिले कक्षा ८ र ९ लाई अंग्रेजी र सामाजिक विषय पढाउँछन् । सामाजिक भने
अंग्रेजी माध्यममा पढाउने गरेको उनले सुनाए ।सन्तोषले भने सुरुदेखि नै मावि तहलाई पढाउँदै आएका छन् । एक वर्षअघि स्नातकोत्तर गरेका उनी ८, ९ र १० कक्षालाई अनिवार्य अंग्रेजी र स्वास्थ्य, जनसंख्या तथा वातावरण पढाउँछन् । भने, ‘प्राविको शिक्षक भए पनि माविमा पढाएको अनुभव लिन पाउँदा खुसी लागेको छ । माविको लाइसेन्स निकालिसकेको छु । आयोगले आवेदन खुलाउनासाथ दिने तयारीमा छु ।’उक्त स्कुलमा १ हजार ८ सय विद्यार्थी छन् । ‘प्रावि तहमा विद्यार्थी केही कम छन्,’ विद्यालयका प्रधानाध्यापक पूर्ण दवाडीले भने, ‘माविमा धेरै कक्षा छ, विद्यार्थी चाप धेरै छ, प्राविको दरबन्दी भए पनि योग्यता भएकालाई पढाउने अवसर प्रदान गरेका हौं । यस्तो गर्दा शिक्षकहरूको आत्मसम्मान पनि हुन्छ ।’यस्तै समस्या छ, भरतपुर–२९ स्थित कविलास माविमा पनि । यो विद्यालयमा २३ शिक्षक छन् । मावि र निमाविमा दरबन्दी अभाव हुँदा प्राविका शिक्षकले पढाउनुपर्ने बाध्यता छ । निमावि र निमावि दरबन्दी भएका शिक्षकले माविलाई पढाउँछन् । त्यस्तै, बालविकासका शिक्षकले निमाविसम्म पढाउने गरेका छन् ।
कविलासमा प्रावि दरबन्दी भएर मावि पढाउने १, निमावि दरबन्दी भएर मावि पढाउने ४ र प्रावि दरबन्दी भएर निमावि पढाउने ५ जना छन् । ‘विद्यालयमा दरबन्दी नपुगेर माथिल्लो कक्षालाई पढाउनुपर्ने बाध्यता छ,’ प्रावि दरबन्दी भएका शिक्षक रामजी भण्डारीले भने, ‘हाम्रो श्रमशोषण भएको छ ।’ उनले २०६० मा अंग्रेजीमा स्नातकोत्तर गरेका उनी कक्षा ८, ९ र १० मा अंग्रेजी, स्वास्थ्य तथा जनसंख्या वातावरण विषय पढाउँछन् । ‘शिक्षा नियमावली संशोधन हुँदैछ, त्यसमा योग्यता पुगेका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट बढुवा गर्ने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने ।उता, जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसादले प्रावि तहका कति शिक्षकले माविसम्म पढाउँछन् भन्नेबारे तथ्यांक नभएको बताए । ‘हामीसँग मावि, निमावि र प्राविमा कति शिक्षक छन् भन्ने तथ्यांक मात्र छ,’ उनले भने, ‘तर प्राविका कति शिक्षकले माविमा पढाउँछन् भन्ने तथ्यांक छैन । प्राविका शिक्षकले मावि पढाउँदा पाउने सुविधा विद्यालयको आन्तरिक व्यवस्थापनबाट मिलाउनुपर्छ । अधिकांश विद्यालयमा प्राविका शिक्षकले मावि पढाउँदा माविकै पारिश्रमिक पाउने गरेका छन् ।’
शिक्षा कार्यालयका अनुसार चितवनका २३ माविमा माध्यमिक तहको दरबन्दी छैन । त्यस्तै, ४२ निमाविमा निमावि दरबन्दी छैन । जिल्लामा २ सय १३ प्राविमा १ हजार ६ सय ७५ शिक्षक दरबन्दी छ । २ सय राहत शिक्षक छन् । त्यस्तै ६९ निमाविमा ४ सय ५ दरबन्दी र १ सय ३३ राहत दरबन्दीका शिक्षक छन् । ९५ माविमा ३ सय ९ दरबन्दी र ७४ जना राहत शिक्षक छन् ।प्रावि दरबन्दी भएका शिक्षकले माविमा पढाउँदा पाउने सुविधा विद्यालयको आन्तरिक व्यवस्थापनबाट मिलाउनुपर्छ । अधिकांश विद्यालयमा प्राविका शिक्षकले मावि पढाउँदा माविकै पारिश्रमिक पाउने गरेका छन् ।जिल्ला शिक्षा अधिकारीचितवन



शिक्षा

५ लाख ४० हजारका शैक्षिक पुरस्कार

हेटौंडा (कास)– यहाँको एउटा निजी कलेजले उत्कृष्ट विद्यार्थीहरूका लागि वार्षिक ५ लाख ४० हजार रुपैयाँका पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।हेटौंडा उपमहा–नगरपालिका–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले आफ्नी आमा टीकादेवी जोशीको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् । उक्त कलेज २०५२ देखि सञ्चालनमा आएको हो ।
कक्षा ११ र १२ मा उत्कृष्ट हुने विद्यार्थीलाई जनही १/१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । वाणिज्य र विज्ञान दुवै संकायमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमश: ५० हजार, २५ हजार र १० हजार रुपैयाँ दिइने प्रिन्सिपल जोशीले बताए । ‘पुरस्कारले विद्यार्थीलाई उत्कृष्ट अंक हासिल गर्न प्रोत्साहित तुल्याउँछ,’ उनले भने ।उक्त कलेजमा कक्षा ११ र १२ मा दुई हजार एक सय विद्यार्थी छन् । सरकारी शिक्षकबाट सेवानिवृत्त जोशीले यसअघि शिक्षा, पत्रकारिता, खेलकुद, साहित्यका प्रतिभालाई प्रदान गर्न टीकादेवी स्मृति पुरस्कार स्थापना गरिसकेका छन् । उनले एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेहरूलाई पनि पुरस्कृत गर्दै आएका छन् ।

Page 12
समाचार

‘महाधिवेशनसम्मै’ ठाकुर संयोजक

- कान्तिपुर संवाददाता

काठमाडौं– छ मधेसकेन्द्रित घटक मिलेर तीन महिनाअघि गठित राष्ट्रिय जनता पार्टीले महाधिवेशनसम्म महन्थ ठाकुर नै अध्यक्ष मण्डलको संयोजक हुने समझदारी गरेको छ । बिहीबार पार्टी मूख्यालय बबरमहलमा सुरु राजपा अध्यक्ष मण्डल बैठकले आलोपालो पद्दतिमा अध्यक्ष मण्डल चलाउने एकता ताकाको पूर्वसमझदारी पुनर्विचार गर्ने ठहर गरेको हो । बैठक स्रोतका अनुसार अध्यक्ष मण्डलमा यसबारे औपचारिक निर्णय भने गरिएको छैन । तर ठाकुरपछि अध्यक्ष मण्डल संयोजक हुने भनिएका राजेन्द्र महतोले नै यस्तो प्रस्ताव गरेपछि अरू नेता ठाकुरको नेतृत्व मान्न सहमत भएका हुन् ।यसअघि वैशाख ७ मा पार्टी एकता हुँदै गर्दा ठाकुरलाई अध्यक्ष मान्न अरू नेता तयार भए पनि तत्कालीन तमसपा अध्यक्ष महेन्द्र यादवले असन्तुष्टि जनाएका थिए । यादव कुनै बेला ठाकुरकै नेतृत्वको तमलोपामा थिए ।‘दुई–दुई महिनामा अध्यक्ष फेर्नु राम्रो हुँदैन, त्यसैले पद हस्तान्तरणतिर नलागी पार्टी निर्माण गर्न लागौं,’ महतोलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘महाधिवेशनसम्मै ठाकुरलाई संयोजक स्वीकार गरेर जाऔं ।’ कान्तिपुरसँग कुरा गर्दै महतोले बैठकमा औपचारिक रूपमा यो विषयले प्रवेश नपाए पनि ठाकुरलाई साझा नेता मान्ने विषयमा दुई मत नरहेको बताए । भर्खरै निर्वाचन आयोगमा दल दर्ता गरेको राजपाले अर्को वर्ष महाधिवेशन गर्दैछ । राजपा बैठकमा बिहीबार राजनीतिक विषयमा भने छलफल नभएको अध्यक्ष मण्डलका अर्का नेता अनिल झाले जानकारी दिए । शुक्रबार बिहान ११ बजे फेरि बस्ने बैठकमा आन्दोलनको समीक्षा, चुनावलाई हेर्ने दृष्टिकोणलगायतबारे छलफल हुने उनले बताए । राजपा नेताहरूका अनुसार साउन १४ देखि १७ सम्म पदाधिकारी बैठक बस्ने, त्यसपछि १८ देखि २७ सम्म केन्द्रीय समिति बस्ने भन्दै अध्यक्ष मण्डलको बैठकले त्यसैका लागि प्रस्ताव तयार गर्ने छ । राजपामा अहिले ८ सय १५ केन्द्रीय सदस्य र १ सय ३४ पदाधिकारी छन् । अध्यक्ष मण्डल बैठकले पार्टी संगठन चुस्त ढंगले चलाउन कठिन भएको भन्दै राजनीतिक समिति, अनुशासन समिति र संसदीय समिति गठन गर्ने तयारी गरेको छ । पार्टी नेतृत्वमा आफूलाई उपेक्षा गरिएको भन्दै नेता हृदयेश त्रिपाठीले जनाउदै आएको असन्तुष्टि सम्बोधन गर्दै उनलाई निश्चित जिम्मेवारी दिने नेताहरूको तयारी छ । ‘मूलत: हामीले पदाधिकारी बैठकमा लैजाने दस्तावेजकै बारेमा छलफल गर्दैछौं,’ महतोले भने ।

समाचार

‘चीन–नेपाल थप नजिकिँदै’

काठमाडौं (कास)– काठमाडौंस्थित चिनियाँ दूतावासका उपप्रमुख याङ सिचाओले पछिल्लो समय नेपालीमा देखिएको चिनियाँ भाषामोहप्रति खुसी व्यक्त गर्दै यसले दुई देशलाई जनस्तरमा थप नजिक्याउने बताएका छन् । बंगलादेश र थाइल्यान्डमा चिनियाँ कूटनीतिज्ञका रूपमा काम गरेर नेपाल आएका उनले भने, ‘नेपालीहरूको चिनियाँ भाषा सिक्ने चाहनाले हामी हर्षित छौं । यो प्रयासले दुई देशको जनस्तरमा सम्बन्ध उचाइमा पुग्नेछ । व्यापार व्यवसाय पनि बढ्नेछ र पर्यटन व्यवसायले थप फड्को मार्नेछ ।’चिनियाँ सहयोगमा नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले आयोजना गरेको ६ महिने नि:शुल्क चिनियाँ भाषा प्रशिक्षण बुधबार राजधानीमा आरम्भ गर्दै नियोग उपप्रमुख याङले नेपालीहरूमा चिनियाँ भाषामोह बढ्दो पाइएको बताएका थिए । पर्यटन बोर्डमा सुरु भएको दोस्रो प्रशिक्षणमा ४० जनाले भाषा सिक्दै छन् । मुलुकका विभिन्न स्थानमा चलाइने यो प्रशिक्षण पर्यटन व्यवसायी तथा पथप्रदर्शक लक्षित छ ।
नेपालमा चिनियाँ खाना, कला–संस्कृति पनि फस्टाउँदो रहेको सुनाउँदै याङले भने, ‘भाषाको ज्ञान बढ्दै जाँदा दुईपक्षीय व्यापार बढ्छ भने नेपाल आउने चिनियाँ पर्यटकसमेत बढ्नेछन् ।’ चिनियाँहरूले नेपालका थुप्रै विद्यालयमा समेत नि:शुल्क चिनियाँ भाषा पढाउन थालेका छन् ।
पछिल्लो समय पर्यटकका रूपमा विभिन्न देश घुम्ने चिनियाँको संख्या बढ्दो छ । सबैभन्दा बढी थाइल्यान्डमा मात्रै वार्षिक ९० लाख चिनियाँ पुग्छन् । जापानको जनसंख्याको तीन दोब्बर चिनियाँले विश्व भ्रमण गर्ने सुनाउँदै कार्यवाहक राजदूतको जिम्मेवारीमा रहेका याङले भने, ‘नेपालमा भाषाको ज्ञान बढ्ने र पर्यटकका लागि प्राथमिकता
दिने हो भने यहाँको ग्रोथ १० प्रतिशतले वृद्धि हुन सक्छ ।’ नेपालमा पर्यटनको अपार सम्भावना देखेको उनले बताए ।
चीनले सन् २०१७ लाई नेपाल पर्यटन वर्षका रूपमा मनाइरहेकाले पनि पर्यटक वृद्धि हुने विश्वास गर्दै उनले भने, ‘भूकम्पपछि चिनियाँ पर्यटक घटेको जानकारी हामीलाई छ । अब बढ्दै जानेछन्, सगरमाथा, बुद्धको शान्त, सुन्दर देशमा चिनियाँ नआउने कुरै छैन । जब भाषा सिकिन्छ त्यसपछि सम्पर्क पनि बढ्छ ।’ उनले आफ्ना नागरिकलाई नेपालबारे बुझाउने र नेपाल घुम्न जान सुझाउने प्रतिबद्धता पनि गरे । कार्यक्रममा परिषद्का अध्यक्ष डा. हरीशचन्द्र शाहले पर्यटन प्रवद्र्धनमा सघाउन भाषा शिक्षणमा जोड दिइएको बताए ।

समाचार

मानव अधिकारमा राष्ट्रसंघीय चासो

छोटकरी

काठमाडौं (कास)– नेपाल भ्रमणमा रहेकी राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त कार्यालयकीे एसिया प्यासिफिक प्रमुख डा. ज्योति सांघेराले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा तथा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग छुट्टाछुट्टै भेट गर्दै नेपालको मानव अधिकारको अवस्थाबारे छलफल गरेकी छन् । युद्धकालीन अपराध र मानव अधिकारको विषयमा राष्ट्रसंघले चासो दिँदै आएको छ ।

 

समाचार

जोशीलाई संसद्को श्रद्धाञ्जली

छोटकरी

काठमाडौं (कास)– व्यवस्थापिका संसद्को बिहीबारको बैठकले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा रामहरि जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । जोशीको गत असार २९ मा ९२ वर्षको उमेरमा राजधानीको ग्रान्डी अस्पतालमा निधन भएको थियो । संसद्ले पारित गरेको शोक प्रस्तावमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ ।

समाचार

कुवेतमा आममाफी पाउने नेपाली एक जना मात्रै

छोटकरी

काठमाडांै (कास)– कुवेतले १२ सय ७ कैदीलाई आममाफी दिएकोमा एकजना मात्रै नेपाली परेका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार आममाफी पाउनेमा लागूऔषध मुद्दामा चार वर्ष जेल सजाय पाएका सुजेन्द्र थापा छन् । दूतावासले जेल सजाय पाएका ६१ जनालाई माफी दिन कुवेत सरकारलाई सूचीसहित अनुरोध गरेको थियो ।

 

समाचार

७ जनालाई निलम्बन सिफारिस

छोटकरी

ललितपुर (कास)– सरकारले यातायात व्यवस्था कार्यालय महाकालीका निमित्त प्रमुखसहित ७ जनालाई निलम्बन सिफारिस गरेको छ । यातायात व्यवस्था विभागका अनुसार महाकालीमा सवारी दर्ता गर्ने क्रममा अनियमितता देखिएपछि बिहीबार सचिवस्तर बैठकबाट उनीहरूलाई निलम्बन सिफारिस गरिएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले नक्कली कागजात प्रयोग गरेर सवारी दर्ता गरेको छानबिनबाट फेला परेकाले निलम्बनका लागि मन्त्रालयमा सिफारिस गरेको बताए । निलम्बन सिफारिसमा परेकामा निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंह, मेकानिकल इन्जिनियर दीपक थापा, नासु नरेन्द्रराज जोशी, तारादत्त भट्ट, महादेव भट्ट, खरिदार केशवदत्त बडु र श्यामराज ओझा छन् ।

 

समाचार

योग्य विद्यार्थीलाई भर्ना गर्नू : सर्वोच्च

छोटकरी

काठमाडौं (कास)– सर्वोच्च अदालतले चिकित्सा शिक्षाको स्नातकोत्तर (पोस्ट ग्रयाजुएसन–पीजी) मा योग्य विद्यार्थीलाई अनिवार्य रूपमा भर्ना गर्न आदेश दिएको छ । न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा भर्ना भएका ललितजंग शाहीसहित ३३ विद्यार्थीहरूका हकमा जारी भएको अन्तरिम आदेशले निरन्तरता नपाउने आदेश जारी गरेको हो । असार ११ गतेको अन्तरिम आदेश खारेज भएपछि युनिभर्सल र नेसनल कलेजमा बढी शुल्क बुझाएर भर्ना भएका विद्यार्थीको वैधता सकिएको छ ।

Page 13
विदेश

नाकाबन्दी झन् कडा : कतार

दोहा (एजेन्सी)– कतारले इजिप्ट, साउदी अरब, बहराइन र यूएईले नाकाबन्दीलाई झन् कडा पारेको आरोप लगाएको छ । सरकारी अधिकारीहरूले कतारसामु नयाँ ६ वटा माग राखेर असंगठित रूपमा कतारलाई अप्ठ्यारोमा पारेको बताएका हुन् । बहराइन, यूएई र इजिप्टले मंगलबार आतंकवादलाई खाडीबाट परास्त गर्न कतारले ६ वटा माग सम्बोधन गर्नुपर्ने बताएका थिए । नयाँ मागसँगै उनीहरूले पुराना १३ मागहरू स्थगित गरेको जनाएका थिए । कतार सरकारको सञ्चार कार्यालयका निर्देशक शेख सैफ विन अहमद अल थानीले चार देशहरूले नियमित रूपमा विरोधाभाषपूर्ण भनाइहरू सार्वजनिक गरेको आरोप लगाए । उनका अनुसार अमेरिका वा कुवेतले आधिकारिक रूपमा कुनै सम्पर्क नगरेको जनाए । उनले नयाँ मागहरू अमेरिका वा कुवेतको दबाबमा आएको दाबी गरे । यी देशहरूले आतंकवादलाई समर्थन गर्न, सशस्त्र विद्रोहीहरूलाई संरक्षण दिन, हिंसालाई प्रोत्साहन गर्न र घृणा फैलाउने वक्तव्यबाजी गर्न तत्काल बन्द गर्नुपर्ने नयाँ माग राखेका छन् । कतारको समाचार च्यानल अल जजिरा बन्द गर्नुपर्ने माग भने हटाइएको छ । आतंकवादलाई समर्थन गरेको भन्दै चार देशले कतारमाथि जुन ५ देखि नाकाबन्दी गरेका हुन् । कतारले भने यसलाई अस्वीकार गर्दै आएको छ ।

विदेश

ट्रम्पका ३ सहयोगीले बयान दिने

वासिङ्टन (बीबीसी)– गत वर्षको राष्ट्रपतीय चुनावमा रूसी संलग्नताबारे छानबिन गरिरहेको संसदीय समितिले राष्ट्रपतिका छोरा र अन्य दुईलाई बयान दिन बोलाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा जुनियर ट्रम्प, ज्वाइँ जरेद कुश्नर र चुनावी अभियान प्रमुख पल मनाफोर्टलाई गत वर्षको राष्ट्रपतीय चुनावमा रूसी संलग्नताबारे प्रश्न गरिनेछ । ट्रम्पले टेलिभिजन अन्तर्वार्ता र ट्वीटरमार्फत छोरा निर्दोष भएको बताएका थिए ।

विदेश

टर्कीको आलोचना

छोटकरी

बर्लिन (रोयटर्स)– जर्मनीले आफ्ना नागरिकलाई टर्की भ्रमण नगर्न सचेत गराएको छ ।
इरानले मानिसलाई थुनामा राखेको र काउन्सुलर सेवा बन्द गरेकाले भ्रमण गर्नुपूर्व होसियार हुन जर्मनीले आग्रह गरेको हो । विदेशमन्त्री सिग्मर ग्याब्रियलले टर्कीले जर्मन नागरिकसहित ६ मानव अधिकारकर्मीलाई आतंकवादीको आरोपमा पक्रेकोमा भत्र्सना गरे । उनले टर्कीलाई अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको पालना गर्न सुझाव दिए । सिग्मरले बर्लिनमा बोल्दै टर्की नीतिमा परिवर्तन गर्नुपर्ने समय भएको प्रस्ट पारे । उनी पछिल्लो समय जर्मनी र टर्कीबीच उत्पन्न गहिरो कूटनीतिक संकटबारे छलफल गर्न बिदा छोट्याएर बर्लिन फर्किएका हुन् ।

विदेश

इरानी राजदूतलाई कुवेत छाड्न निर्देशन

छोटकरी

दुबई (रोयटर्स)– कुवेतले इरानी राजदूतलाई देश छाड्न आदेश दिएको छ । कुवेतले इरानी राजदूत अलिरेजा इनायातीलाई जासुसीको आरोपमा ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको हो । देशको आन्तरिक मामिलामा हस्तक्षेपको प्रयास गरेको भन्दै कुवेतका कार्यवाहक सूचनामन्त्री शेख मोहम्मद अब्दुल्लाह अल सबहले कूटनीतिक नियोगमाथि कारबाही गरिएको जनाए । कुवेतले इरानी कूटनीतिक नियोगलाई कर्मचारी कटौती गर्न तथा प्राविधिक कार्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

 

Page 15
अर्थ वाणिज्य

भूकjavascript:void(0);म्पपीडितले पाएनन् निब्र्याजी ऋण

- यज्ञ बञ्जाडे

काठमाडौं– भूकम्पपीडितहरूलाई आवास निर्माणका लागि सरकारले सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म निब्र्याजी ऋण दिने भने पनि अझै पाएका छैनन् । ढिलो गरी कार्यविधि निर्माण भएको र उक्त कार्यविधि पनि कार्यान्वयन हुन नसक्दा पीडितहरूले यस्तो सुविधा नपाएका हुन् । सरकारले गत आर्थिक वर्षको बजेट वक्तव्यमा ‘विपन्न वर्गमा रहेका भूकम्पपीडितलाई सामूहिक जमानीमा निब्र्याजी ऋण दिने’ घोषणा गरेको थियो । त्यसको करिब एक वर्षपछि मात्र राष्ट्र बैंकले कार्यविधि बनायो । उक्त कार्यविधि गत जेठ पहिलो साता सरकारले स्वीकृत गरी कार्यान्वयनका लागि निर्देशन दिएको थियो । सरकारले निर्देशन दिएको करिब दुई महिनासम्म पनि उक्त कार्यविधि कार्यान्वयनमा आउन सकेको छैन । सरकार र त्यस मातहतका निकायहरूबीच प्रभावकारी समन्वय नहुँदा कार्यविधि कार्यान्वयन हुन नसकेको हो । राष्ट्र बैंकले बनाएको कार्यविधि प्राधिकरणलाई चित्त नबुझ्ने र प्राधिकरणको निर्देशन अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई मान्य नभएकाले पीडितले शून्य ब्याजदरको ऋण पाउन नसकेको स्रोतले बतायो । ‘सरकारी निकायहरूबीच प्रभावकारी समन्वय हुन नसक्नुको मार भूकम्पपीडितहरूले भोगिरहेका छन्,’ स्रोतले भन्यो ।
राष्ट्र बैंकले जारी गरेको सामूहिक जमानीमा निब्र्याजी ऋणसम्बन्धी कार्यविधिमा प्रक्रियागत अस्पष्टता भएकाले ऋण परिचालन हुन नसकेको प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भुसालले बताए । ‘कार्यविधिलाई सरल बनाउन राष्ट्र बैंकलाई पृष्ठपोषण (फिडब्याक) दिएका छौं,’ उनले भने, ‘राष्ट्र बैंकले अर्थ मन्त्रालय र प्राधिकरणसँग छलफल गरी जटिलताहरू टुंग्याउने आश्वासन दिएको छ ।’ नीतिगत जटिलताकै कारण सामूहिक जमानीमा निब्र्याजी ऋण प्रदान हुन नसकेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । ‘कार्यविधिमा केही व्यावहारिक कठिनाइहरू देखिएका छन्, ती विषय सुल्झिएपछि कार्यान्वयनमा आउँछ,’ उनले भने । बैंकले ऋण दिँदा सबै पक्ष हेर्ने भएकाले ऋणको सुरक्षण, असुली, परिचालन प्रक्रियालगायतमा नीतिगत स्पष्टता हुनुपर्ने उनले बताए । ०७२ वैशाखको विनाशकारी भूकम्पबाट घर गुमाएका अधिकांश पीडितहरू अझै पनि टहरामै बस्न बाध्य छन् । भूकम्पबाट ७ लाख २५ हजार घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । तीमध्ये अधिकांशले अझै घर निर्माण गर्न सकेका छैनन् । सरकारले २ प्रतिशत ब्याजदरमा काठमाडौं उपत्यककामा २५ लाख र उपत्यका बाहिर १५ लाख रुपैयाँ आवास निर्माणका लागि ऋण दिने नीति ल्याएको छ । तर, अप्ठ्यारो नीतिगत व्यवस्थाकै कारण अधिकांश पीडितले उक्त सुविधा पाएका छैनन् । राष्ट्र बैंकको तथ्यांकअनुसार यो व्यवस्थाअन्तर्गत गत जेठसम्म ३ सय ८२ जना पीडितले ८१ करोड ६५ लाख रुपैयाँ पाएका छन् ।
निब्र्याजी ऋणसम्बन्धी कार्यविधिमा खासगरी न्यून आय भएका र सामाजिक रूपमा पिछडिएका साना किसान, कालिगढ, मजदुर र भूमिहीन परिवारजस्ता विपन्न वर्गलाई लक्षित गरिएको छ । विपन्न वर्गको परिभाषामा पर्ने त्यस्ता भूकम्पपीडितहरूले राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख, ग, र घ वर्गका बैंक तथा वित्तीय संस्थाबाट ३ लाख रुपैयाँसम्म निब्र्याजी ऋण लिन सक्नेछन् ।
यस्तो ऋण प्राप्त गर्नका लागि कार्यविधिमा विभिन्न सर्तहरू तोकिएको छ । तीमध्ये ऋणी तथा पीडितको परिवारमा बस्नयोग्य आवासीय घर नभएको र नेपाल सरकारले जारी गरेको भूकम्पपीडित परिचय पत्र भएको हुनुपर्ने प्रमुख हुन् । यो कर्जा प्रदान गर्दा बैंक वा वित्तीय संस्थाले ऋणीसँग कुनै पनि प्रकारको ब्याज वा शुल्क लिन पाउने छैनन् । सामूहिक जमानीमा निब्र्याजी प्रवाह गरिने यो ऋण अनिवार्य रूपले कर्जा सुरक्षण निगमबाट सुरक्षण गरिएको हुनुपर्नेछ । कर्जाको भुक्तानी अवधि कम्तीमा ३ वर्ष र बढीमा ५ वर्ष हुने कार्यविधिमा उल्लेख छ ।
यो कर्जामा ऋणीबाट कुनै शुल्क उठाउन नपाइए पनि बैंक तथा वित्तीय संस्थाले सरकारबाट निश्चत ब्याज पाउँछन् । ‘बैंक तथा वित्तीय संस्थाको सञ्चालन लागतमा २ प्रतिशत विन्दु थप गरी ब्याजदर कायम गरिनेछ,’ कार्यविधिमा भनिएको छ, ‘यस्तो ब्याज रकम, बिमा वा सुरक्षण शुल्क वित्तीय संस्थाबाट माग भई आएमा राष्ट्र बैंक बैंकिङ कार्यालयले त्रैमासिक रूपमा उक्त कोष खर्च गरी सम्बन्धित बंैक वा वित्तीय संस्थालाई उपलब्ध गराउनेछ ।’ यसका लागि सरकारले एउटा कोष स्थापना गर्ने र उक्त कोष काठमाडौं थापाथलीस्थित राष्ट्र बैंकको बैंकिङ कार्यालयमा स्थापना गरिनेछ । तर, कोष कति रकमको हुने भन्ने कार्यविधिमा उल्लेख छैन ।
यस व्यवस्थाअन्तर्गत प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा गणना गर्न पाउँछन् । सोही कारण बैंक तथा वित्तीय संस्थाले सरल, सहज र छरितो ढंगले यस्तो कर्जा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेछ । कार्यविधिले सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यको समन्वय तथा अनुगमन गर्न राष्ट्र बैंकका डेपुटी गभर्नरको संयोजकत्वमा सम्बन्धित क्षेत्रका प्रतिनिधि सम्मिलित अनुगमन समिति गठन गरिने व्यवस्था छ ।

अर्थ वाणिज्य

सिमेन्टमा तौल ठगी

- राजु चौधरी

काठमाडौं– घर वा अन्य निर्माणका लागि सिमेन्ट किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने तौलमा ठगिन सक्नुहुन्छ । सिमेन्ट किन्दा जोखेर मात्रै लिनुहोला । किनभने बजारमा कम तौलका सिमेन्ट बोरा छ्प्यापछ्याप्ती भेटिन थालेका छन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको संयुक्त बजार अनुगमन टोलीले सिमेन्ट डिलरहरूमा अनुगमन गर्दा यस्तो भेटिएको हो ।अनुगमनका क्रममा एक बोरामा (५० किलोको बोरा) ८ किलोसम्म कम तौल फेला परेको छ । घर निर्माण गर्दा करिब २ सय बोराभन्दा बढी नै सिमेन्ट चाहिन्छ । जसअनुसार एउटा घरमा १६ सय किलोसम्म ठगी हुँदै आएको जानकारहरू बताउँछन् । ‘सिमेन्ट हार्डवेयर/सप्लायरमा अनुगमन गर्दा तौलमा व्यापक ठगी भएको देखियो,’ आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले भने, ‘उपभोक्ता ठगी गर्ने हार्डवेयरमा सिलबन्दी गरी बयानका लागि विभागमा उपस्थित हुन निर्देशन दिएका छांै ।’अनुगमन टोलीले शुभश्री खाडादेवी सप्लायर्समा उदयपुर सिमेन्ट (गैंडा ब्रान्ड) र हेटौंडा सिमेन्ट (शक्ति) सिमेन्टको बोरा तौल परीक्षण गर्दा ६ किलोसम्म कम पाइएको थियो । ‘गैंडा ब्रान्डमा डेढ किलो र शक्तिमा करिब ६ किलोसम्म कम तौल भेटियो,’ क्षेत्रीय कार्यालय प्रमुख शशि यादवले भने, ‘सप्लायर्समा सिलबन्दी गरेका छौं ।’ यी दुई सिमेन्ट सरकारी संस्थानका उत्पादन हुन् । सरकारी सिमेन्ट भएकाले थप कारबाहीका लागि उद्योग मन्त्रालयमा पत्राचार गरेको जनाइएको छ ।
यस्तै अरनिको हार्डवेयर ट्रेडर्समा अनुगमन गर्दा एडभान्स पावरमा ३ किलोसम्म कम फेला परेको थियो । अम्बुजा सिमेन्टको बोरामा ८ किलोसम्म कम भएको यादवले बताए । वनस्थलीमा रहेको संस्कार ट्रेडिङमा अनुगमन महालक्ष्मी र शिवम् सिमेन्टमा करिब ८ किलोसम्म कम तौल भएको पाइएको थियो । उक्त ट्रेडिङ सिलबन्दी गरी थप अनुसन्धानका लागि विभागमा अपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ । ‘एक बोरामा ८/८ किलो कम हुनु भनेको व्यापक ठगी हो,’ महानिर्देशक दाहालले भने, ‘उक्त ट्रेडर्सलाई कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाएका छौं ।’
यस्तै सिद्धार्थ सिमेन्टको बोरामा पनि ९ सय ग्रामसम्म कम भेटिएको थियो । अग्नि सिमेन्टको बोरामा २ किलो र त्रिदेव सिमेन्टमा साढे १ किलोसम्म कम सिमेन्ट भेटिएको छ । उक्त बोराहरू बिक्रीमा रोक लगाएर कारबाहीको प्रक्रिया बढाइएको विभागले जनाएको छ । प्रमुख यादवले उद्योगी र डिलरको मिलोमतोमा ठगी भएको हुने सक्ने बताए । थप छानबिनका लागि उद्योगीहरूलाई पनि पत्राचार गर्ने तयारी भएको यादवले बताए ।
सरकारले ५० किलोको बोरामा ५ सय ग्राम (आधा किलो) सम्म घट/बढलाई मान्यता दिएको छ । सिमेन्ट लोड/अनलोड हुँदा केही कम हुन सक्छ । जानकारका अनुसार कम्पनीले नापतौल गरेर पठाउने हुँदा एउटै बोरामा ८ किलोसम्म कम गर्दैन । ‘बजारमा प्रतिस्पर्धा छ । कम तौलको सिमेन्ट बजारमा पठाउने सम्भावना नै छैन । डिलर/हार्डवेयरको बद्मासी हुन सक्छ,’ एक सिमेन्ट उद्योगीले भने, ‘हामी छानबिन गरिरहेका छौं । दोषीलाई कारबाही हुन्छ ।’
महानिर्देशक दाहालले सिमेन्टको तौलमा देखिएको समस्या हटाउन कम्पनीहरू सचेत हुनुपर्ने बताए । ‘कम्पनीबाट कम तौलको सम्भावना कम हुन्छ । अनुगमनका क्रममा कम्पनीको बोरामा कम फेला पर्दा सम्बन्धित कम्पनीको पनि दोष हुन्छ,’ उनले भने, ‘यस्ता समस्याबाट बच्न/विश्वसनीयताका लागि कम्पनी स्वयंले आफ्नो डिलरमा अनुगमन गर्नुपर्छ ।’ गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उद्योगीभन्दा पनि डिलरहरूले निकालेको हुन सक्ने बताए । ‘यसअघि डिलरमा अनुगमन गर्दा केही डिलरले सिमेन्टको खाली बोरा पनि मगाउने गरेको पाइएको छ,’ उनले भने, ‘डिलरहरूले खाली बोरा मगाउनु भनेको ठगी गर्ने उद्देश्य नै हो ।’ उनका अनुसार बोरा सिल भए पनि पाइप हालेर सिमेन्ट झिक्ने गरिन्छ ।
विभागले सम्बन्धित उद्योगलाई तौलबारे जानकारी दिन निर्देशन दिएको छ । यस्तै ठगी गर्ने ट्रेडर्सलाई प्रक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको गुणस्तर विभागका महानिर्देशक पुडासैनीले बताए । ‘हार्डवेयरमा अनिवार्य काँटा राख्न व्यवसायीलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘सर्वसाधारणलाई पनि जोखेर मात्रै खरिद गर्न अनुरोध छ ।’

  • डिलरको बद्मासी हुन सक्छ : नापतौल विभाग
  • विश्वसनीयताका लागि कम्पनी स्वयंले आफ्ना डिलरमा अनुगमन गर्नुपर्छ : आपूर्ति
अर्थ वाणिज्य

असोज मसान्तसम्म ठेक्का सम्झौता

बजेटमा स्वीकृत कार्यक्रम
- कान्तिपुर संवाददाता

काठमाडौं– बजेटमा स्वीकृत कार्यक्रमहरू अब असोज मसान्तसम्म ठेक्का सम्झौता गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि समयतालिका सहितको कार्यक्रम सार्वजनिक गर्दै उक्त निर्देशन सम्बन्धित सरकारी कार्यालयलाई दिइसकेको छ । ठेक्का सम्झौता गर्नका लागि सम्बन्धित योजनाको खरिद योजना, विस्तृत डिजाइन, लगत अनुमान र बोलपत्र आह्वान भने साउन मसान्तभित्र गरिसक्नुपर्ने कार्यतालिका अर्थ मन्त्रालयको सार्वजनिक गरेको छ । बोलपत्र आह्वान र सम्झौताका लागि कार्यविधि र निर्देशिका तर्जुमा तथा संशोधनसमेत साउन मसान्तसम्मा गरिसक्नुपर्नेछ । उक्त कामका लागि कर्मचारी आवश्यक परेमा अस्थायी दरबन्दी सिर्जना र स्वीकृतिसमेत साउनमै गरिसक्न अर्थ मन्त्रालयको निर्देशन छ । ‘बिल भुक्तानी पेस भएको १५ दिनभित्र गरिसक्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘आम्दानी र खर्चको विवरण मासिक रूपमा सार्वजनिक गर्नुपर्नेछ । वित्तीय र भौतिक प्रगति विवरण महिना सम्पन्न भएको सात दिनभित्र गरिसक्नुपर्नेछ ।’
कार्यक्रमको कार्यान्वयन र अनुगमनका लागि अर्थमन्त्रीले प्रत्येक दुई/दुई महिनामा समीक्षा गर्नुपर्ने जनाइएको छ । कार्यतालिका बनाए पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका चुनौतीहरू र ध्यान दिनुपर्ने विषयहरूसमेत सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सबै मन्त्रालयका सचिवहरूसँगको समीक्षामा बजेट, कार्यान्वयन तालिका, सुधारका उपायलगायत विषयहरू सार्वजनिक गरेको हो । ‘पहिलो चौमासिक अवधिमा गत वर्षको प्रतिवेदन, समीक्षा, सरुवा, चाडपर्व, मनसुन र प्रदेश नम्बर २ को स्थानीय निर्वाचनजस्ता कारणले कार्यतालिकाबमोजिम काम हुन बाधा पर्न सक्ने भएकाले अबको प्रत्येक दिन क्रियाशील रहनुपर्ने,’ मन्त्रालयको निष्कर्ष छ, ‘नीतिगत र प्रक्रियागत सुधारसँगै काम गर्ने शैली र प्रवृत्तिमा पनि सोहीबमोजिम परिवर्तन आवश्यक छ ।’ साथै कर्मचारीको समयमै समायोजन नहुँदा स्थानीय तहमा कर्मचारीको अभाव हुने देखिएकाले छिट्टै कर्मचारी खटाउनसमेत अर्थले सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेको छ । ‘स्थानीय तहको कार्य सञ्चालनसम्बन्धी कानुन तर्जुमा र मापदण्डहरूको निर्धारण चाँडै गर्नुपर्ने,’ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई भनेको छ, ‘दुईवटा निर्वाचन गर्नुपर्ने भएकाले त्यसबाट आयोजना कार्यान्वयन प्रभावित नहुने व्यवस्था मिलाउनुपर्छ ।’ पुँजीगत खर्च बढाउने उपाय स्वरूप अर्थ मन्त्रालयले यस वर्ष यस्ता विभिन्न उपायहरू अघि सारेको हो । गत वर्ष पनि नयाँ आर्थिक वर्षअगावै बजेटको महत्त्वपूर्ण अंग विनियोजन विधेयक पास भए पनि पुँजीगत खर्च भने बढ्न सकेन । करिब ६५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।
बजेटसँग सम्बन्धित सबै विधेयकहरू पास भइसकेको, स्थानीय तहका लागि सोझै बजेट गएको, प्रक्रियागत झन्झटहरू नभएकोलगायत कारणले चालु वर्षको बजेट खर्च बढ्ने अनुमान गरिएको छ । १६ वर्षपछि नयाँ आर्थिक वर्ष अगावै बजेट पास भइसकेको छ ।१६ वर्षअघि तत्कालीन अर्थमन्त्री महेश आचार्यको पालामा २०५७/५८ मा असार मसान्तमै बजेट पास भएको थियो । सरकारले जेठ १५ मा सदनमा प्रस्तुत गरेको बजेटको सबै विधेयक पास भएपछि साउन १ गतेबाट नै खर्च गर्ने, राजस्व र ऋण उठाउने बाटो खुला भइसकेको छ । स्थानीय तहलाई समेत करिब ७५ अर्ब रुपैयाँ बजेटको अख्तियारी अर्थ मन्त्रालयले दिइसकेको छ ।
प्रदेश सरकार गठन भइनसकेकाले उसका लागि विनियोजन भएको खर्च संघमै रहनेछ । सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ बजेट संसदमा पेस गरिसकेको छ । यसमध्ये चालुतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार (६२.८ प्रतिशत) विनियोजन गरिएको छ । पुँजीगततर्फ ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार रुपैयाँ (२६.२) प्रतिशत र वित्तीयतर्फ १ खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजार (११) प्रतिशत विनियोजन भएको हो । संविधानमै जेठ १५ गते बजेट पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि गत वर्षबाट नयाँ आर्थिक वर्ष सुरु हुनु अगावै बजेट पास हुने गरेको छ ।

Page 16
अर्थ वाणिज्य

अलैंची बोटमा ढुसी

लमजुङ (कास)– यहाँका अलैंची बगानका बिरुवामा ढुसीले आक्रमण थालेको छ । पात सुक्न थालेको देखिएपछि प्राविधिकहरूले प्रभावित केही ठाउँमा अध्ययन गरेका छन् । प्राविधिकले मस्र्याङ्दी गाउँपालिकाको छिनखोला, भुस्मे र नयाँगाउँमा अवलोकन तथा अध्ययन गरेका हुन् ।

Page 17
अर्थ वाणिज्य

भुटानमा उद्यमी महिलाहरूको सार्कस्तरीय बैठक

- कान्तिपुर संवाददाता

काठमाडौं– दक्षिण एसियाली उद्यमी महिलाको सहभागितामा भुटानमा क्षेत्रीय उद्यमशीलताबारे बैठक सम्पन्न भएको छ । साउथ एसियन वुमन डेभलपमेन्ट फोरम (एसएडब्लुडीएफ) र भुटान एसोसिएसन आफ वुमन इन्ट्रेप्रेनर्स (बीएओडब्लूई) को सहकार्यमा आयोजित उक्त कार्यक्रममा दक्षिण एसियामा महिला उद्यमशीलताका लागि प्रभावकारी नीति निर्माण र कार्यान्वयनबारे छलफल भएको जारी विज्ञप्तिमा उल्लेख छ । ‘इफेक्टिभ पोलिसिज फर वुमन इन्ट्रेप्रेनर्सिप इन द सार्क रिजन’ शीर्षकमा दुई दिनसम्म चलेको उक्त बैठकमा सार्क क्षेत्रका महिला उद्यमी, विशेषज्ञ र अन्य सरोकारवालाहरूको सहभागिता रहेको जनाइएको छ । आयोजकका अनुसार बैठकको उद्देश्य दक्षिण एसियाका आठवटै मुलुकमा क्रियाशील रहेको महासंघ/चेम्बरमा आबद्ध उद्यमी महिला, विशेषज्ञ र अन्य सरोकारवालालाई एउटै ठाउँमा ल्याउनु रहेको थियो । बैठकमा उद्यमी महिलाहरूका लागि क्षेत्रीय नीति तथा महिलाद्वारा सञ्चालित साना तथा मझौला उद्यम (एसएमई) लाई बढावा दिन क्षेत्रीयस्तरमा संयुक्त रूपमा अगाडि बढ्नेबारे सुझावहरू आएको आयोजकले जनाएको छ । ठकको उद्घाटन भुटानका विदेशमन्त्री लियोन्पो दाम्चो दोर्जीले गरेका थिए ।

अर्थ वाणिज्य

ऐलानी जग्गाको पनि मुआब्जा

- कान्तिपुर संवाददाता

धादिङ– ऊर्जा मन्त्रालयले बूढीगण्डकी प्रभावितले भोगचलन गर्दै आएको गुठी, ऐलानी र पर्ती जमिनको मुआब्जा दिने निर्णय गरेको छ । मन्त्रालयले स्थानीय प्रशासनलाई पत्राचार गरी डुबानपीडितको प्रमाणका आधारमा मुआब्जा दिन निर्देशन दिएको हो । सरकारी जमिन भोगचलन गर्दै आएका पीडितलाई क्षतिपूर्ति दिइने मन्त्रालयले बताएको छ । उनीहरूलाई न्यूनतम मूल्य बराबरको रकम उपलब्ध गराउने पत्रमा उल्लेख छ । क्षतिपूर्ति र मुआब्जा भने अन्यत्र जमिन नभएकाले मात्र पाउनेछन् । जिल्ला मुआब्जा निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेश आचार्यले परिवारको आर्थिक अवस्था, जग्गाको क्षेत्रफललगायत विषयलाई आधार मानिने बताए । गुठी जग्गामा बसोबास गर्दै आएका स्थानीय र मोहीले घर, गोठ, बोटबिरुवाको पनि क्षतिपूर्ति पाउनेछन् । गुठी संस्थानलाई पनि सरकारले क्षतिपूर्ति उपलब्ध गराउनेछ । प्रजिअ आचार्यका अनुसार सरकारी जग्गामा सञ्चालन भएका शैक्षिक र सामुदायिक संघसंस्थाको
हकमा निश्चित मापदण्ड बनाएर एकमुष्ट क्षतिपूर्ति दिइनेछ । व्यापारिक केन्द्र आरुघाट र खहरे बजारको मुआब्जा निर्धारण गर्न स्थानीयले दबाब दिँदै आए पनि त्यसमा सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।

 

अर्थ वाणिज्य

परिसूचक र कारोबार रकम दुवै घटे

काठमाडौं (कास)– सातामा कारोबारको अन्तिम दिन सेयर कारोबार मापक नेप्से र कारोबार रकम दुवैमा कमी आएको छ । परिसूचक १.५२ अंकले घटेपछि समग्र नेप्से परिसूचक १ हजार ६ सय ३५.७५ विन्दुमा ओर्लेको छ । कारोबारमा आएकामध्ये बिमा, वित्त कम्पनी, उत्पादन तथा प्रशोधन समूह र ‘अन्य’ समूहको परिसूचक बढे पनि बाँकी समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक आरालो लागेको हो । नेप्सेसँगै कुल बजार पुँजीकरण पनि सामान्य रूपमा घटेको छ ।
नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.०६ र कारोबारमा रहेका सबै कम्पनीका सेयर कारोबार मापक फ्लोट परिसूचक ०.१९ प्रतिशतले ऋणात्मक रहे । उक्त दिन ६१ कम्पनीको सेयर मूल्य बढ्यो, ७६ कम्पनीको घट्यो र १८ कम्पनीको सेयर मूल्य स्थिर छ । बिहीबार बिमा समूहको परिसूचक सबैभन्दा बढी ०.८७ प्रतिशतले बढ्यो । यसैगरी उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.५६, ०.१७ र ‘अन्य’ को ०.०८ प्रतिशतले सकारात्मक रहे । तर, होटल समूहको परिसूचक ०.७१, जलविद्युत्को ०.५८, बंैकिङको ०.३७ र विकास बैंकको ०.१९ प्रतिशतले घटे । करिब ८ हजार ७ सय कारोबारबाट १ सय ५५ कम्पनीका १७ लाख ७५ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भए। उक्त किनबेचबाट ९६ करोड ७ लाख बराबरको सेयर कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । अघिल्लो दिन १ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

अर्थ वाणिज्य

अझै अनिश्चित दार्चुला–तिंकर सडक

- मनोज बडू
दार्चुला–तिंकर सडकअन्तर्गत दुहु गाउँपालिकास्थित गरमोरा भीर काटेर खोलिएको सडकको ट्रयाक । तस्बिर : मनोज/कान्तिपुर

दार्चुला– स्वदेशबाट गाउँ पुग्न भारतीय बाटो भएर आउनुपर्ने व्यास गाउँपालिकावासीको बाध्यता हटेको छैन । दार्चुला–तिंकर सडक ९ वर्षअघि निर्माण सुरु भएपछि गाउँसम्म गाडी चढ्ने आशा लिएका उनीहरूले कति समय कुनुपर्ने हो, अझै अनिश्चित छ ।
सडक निर्माणपछि उनीहरूले ज्यान जोखिममा राखेर तुइन तर्नबाट छुटकारा पाउने आशा राखेका थिए। तर, समस्या जस्ताको तस्तै रह्यो । ‘०६३ सालमा तिंकर सडकको सर्भे गर्दा स्वदेशकै बाटोबाट गाउँ पुग्न पाइने भयो भनेर खुसी लागेको थियो,’ व्यास गाउँपालिका मालका रामसिंह धामीले भने, ‘आश गरेको १० वर्षभन्दा बढी भइसक्यो तर पूरा भएन ।’ तुइनको सहायताले महाकाली नदी तर्दा वर्षातको समयमा अन्यन्तै कठिन हुने उनले बताए । महाकालीको भेलमाथि ग्याबिनतारको रसीमा तर्नुपर्छ । वर्षातमा घरको कुनै सदस्य सदरमुकाम वा सीमावर्ती भारतीय बजार गयो भने घर नपुगेसम्म बाटो कुरेरै बस्नुपर्ने नियति छ ।
राष्ट्रिय गौरवको दार्चुला–तिंकर सडक ९ वर्षमा १६ किलोमिटरमा मात्र गाडी गुड्ने भएको छ । वर्षातमा भने उक्त सडकमा गाडी गुड्दैन । तिंकर सडक योजनाले ५० किलोमिटर जति सडकको ट्रयाक खोलिएको भने पनि अझै ठाउँठाउँमा पहाड कटिङ बाँकी नै छ ।
यो क्षेत्रका बिरामीलाई कतै लानुपरे पिठ्युँमा बोक्नुको विकल्प छैन । कतिपय बिरामीले समयमै उपचार नपाउँदा बाटोमै मृत्युवरण गरिरहेका छन् । सडक नहुँदा जोखिमपूर्ण तुइनको सहायताले महाकाली नदी तर्नु वा एक/दुई दिन लगाएर पैदलै सदरमुकाम खलंगा आवतजावत गर्नुपर्छ ।
महाकालीमाथिको तुइन तर्दा बर्सेनि स्थानीयको अकालमा ज्यान जाने गरेको छ । गत वर्ष ४ र यस वर्ष तुइनबाट खसेर २ जनाको ज्यान गएको स्थानीय बताउँछन् ।
प्रत्येक वर्ष प्राथमिकता पाउने त्रिदेशीय नाका जोड्ने दार्चुला–तिंकर सडक बजेट भाषणमै सीमित हुन पुगेको छ । ७ वर्षअघिबाट निर्माण थालिएको यो सडकमा बर्सेनि कुल बजेटको ६० प्रतिशतभन्दा बढी फ्रिज हुन्छ । राष्ट्रिय महत्त्व बोकेको सडकलाई गत आवमा ३० करोड रुपेयाँ विनियोजन भएको थियो । तर, सडकमा ७ करोड ३७ लाख रुपैयाँ मात्र खर्च भएको योजना प्रमुख मनीषकुमार शाहले जानकारी दिए । आव ०७२/७३ मा १५ करोड ४२ लाख विनियोजित बजेटमध्ये २ करोड ४४ लाख, आव ७१/७२ मा १३ करोड ६९ लाख विनियोजित बजेटमध्ये ६ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो । गत आवसम्म ठेकेदारको लापरबाहीले सडक निर्माण हुन नसकेको भनिए पनि यस वर्षबाट विस्फोटक पदार्थको अभावमा काम हुन नसकेको योजना प्रमुख शाहले बताए ।
राताकाटादेखि चालु आवमा ४० किलोमिटर सडकको स्तरोन्नति र लास्कु गाड र निजङगाडमा पक्की पुल निर्माणका लागि ठेक्का भए पनि हालसम्म एकतिहाइ पनि काम हुन सकेको छैन । विस्फोटक पदार्थ अभावमा कडा चट्टानी भूभाग भएको ठाउँमा काम रोक्नुपरेको निर्माण कम्पनीका पदाधिकारी बताउँछन् । नेपाली सेनाको स्वयम्भू बारुदखानालाई ०७१ माघमा १०.१ टन विस्फोटक पदार्थ उपलब्ध गराउनका लागी भुक्तानी गरिसकेको योजनाले जनाएको छ । सेनाले ०७२ सम्म ५.७ टन विस्फोटक पदार्थ उपलब्ध गराएको जनाएको छ ।
गत वर्षबाट यो सडकलाई महाकाली करिडोरमा राखेर निर्माण कार्य अगाडि बढाइएको छ । निर्माण कार्य सुरु गर्दा यो सडक आव ०७५/७६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हाल १० वर्ष धकेलिएको छ । निर्माणको जिम्मा पाएको दार्चुला–तिंकर सडकका ठेकेदारका कारण ढिला भइरहेको स्थानीयको बुझाइ छ ।

  • सुरु भएको ९ वर्ष बिते पनि ट्रयाक खोल्न र पहाड कटिङ गर्न बाँकी
  • योजनाको बजेट बर्सेनि फ्रिज हुने, कामको सुस्त गति

Page 18
अर्थ वाणिज्य

नारायणगढ–मुग्लिन सडकले पर्यटन धराशायी

- विमल खतिवडा
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि रोकिएका पर्यटक सवार गाडी । तस्बिर : विमल/कान्तिपुर

 

  • चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका कारण यहाँको पर्यटन व्यवसाय धराशायी बनेको छ । पर्यटक आगमन शून्य जस्तै छ । पर्यटकीय गन्तव्य सौराहा सुनसान छ । ठूला होटल तथा रिसोर्ट रहेका नारायणगढ, मेघौली, पटिहानी, जगतपुर, कसरा क्षेत्रको पर्यटन व्यवसाय प्रभावित बनेको छ । व्यवसायी निराश छन् । यहाँका लागि भनेर आउने पर्यटक पोखरा, बन्दिपुरतिर ‘डाइभर्ट’ भइरहेका छन् । होटल बुकिङ धमाधम रद्द हुन थालेपछि व्यवसायी चिन्तित छन् ।
    सौराहा आउने पर्यटक मुग्लिनबाट पोखरातिर जान थालेका हुन् । ‘सडकले गर्दा व्यवसाय चौपट भयो,’ सौराहास्थित होटल सेन्टर पार्कका सञ्चालक श्यामकाजी महतले भने, ‘यता आउने धेरै पर्यटक मुग्लिनबाट फर्काइसक्यौं ।’ उनका अनुसार गत असार २८ मा चारकिलोमा खसेको पहिरोका कारण पर्यटकले सास्ती खेप्नुपर्‍यो । भोकभोकै बस्नुपर्‍यो । ७ घण्टा जाममा परे । मुग्लिनमा बाटो खुल्ने आशमा बसेका पर्यटक नखुलेपछि पोखरातिर लागे । ६० जना भारतीय पर्यटक सडक नखुल्ने भएपछि विकल्प खोज्दै पोखरा गएको महतले बताए । उनको होटलमा ४६ वटा रुम छन् । अहिले सबै खाली छ । ‘निल जस्तै भएको छ,’ उनले भने, ‘सौराहा सुनसान भएपछि तनावै तनावमा भक्तपुर घर आएर बसेको छु ।’ उनका अनुसार यो बेला इन्डियन, चाइनिज र आन्तरिक पर्यटक आउँथे । सेमिनारसमेत अन्यत्र डाइभर्ट हुन थालेकाले होटलका स्टाफलाई तलब खुवाउन समस्या भएको छ । यो समस्या महतको मात्र होइन । सौराहामा रहेका १ सय १० होटलको हो । २ हजारले रोजगारी पाए पनि व्यवसाय धराशायी बन्दा तलब खुवाउन धौ/धौ परेको छ ।
    बजार/पसल सुनसान छन् । पर्यटक नआउँदा हात्ती सफारी, जिप सफारी, डुंगा, गाइड सबै क्षेत्र प्रभावित भएको छ । ‘यो बेला सिजन नभए पनि अघिल्ला वर्षहरूमा २५ देखि ५० प्रतिशत पर्यटक हुन्थे,’ क्षेत्रीय होटल संघ अध्यक्ष सुमन घिमिरेले भने, ‘अहिले ५ देखि ७ प्रतिशतभन्दा बढी पर्यटक छैनन् ।’ सडकको स्तर उन्नतिको काम सुरु भएयता पर्यटन व्यवसायमा प्रभाव पर्दै आएको छ । सौराहा र निकुञ्ज आसपाससहित १ सय ५० होटल छन् । ‘सडकको अवस्थाले जिल्लाको समग्र पर्यटन व्यवसायमा असर पुगेको छ,’ उनले भने, ‘अहिलेलाई मात्र होइन, अघिपछिलाई समेत काम लाग्ने गरी नारायणगढ–मुग्लिनको विकल्प खोज्न जरुरी छ ।’ उनले यसमा सरकार गम्भीर हुनुपर्ने बताए ।
    पर्यटक आउन छाडेपछि सञ्चालक होटलमा बस्न छाडेका छन् । अन्य गाडीले वैकल्पिक मार्ग प्रयोग गर्ने गरे पनि पर्यटन बस वैकल्पिक मार्गमा चलाउने गरिएको छैन । ती मार्गबाट जान ढिलो हुने, साँघुरो र घुम्ती बढी हुने हुँदा पर्यटक झन्झट मान्छन् । हवाई मार्गबाट सबै पर्यटक आउन सक्दैनन् ।
    धादिङको नौबिसेदेखि दामन हुँदै हेटौंडा भएर सौराहा आउन मिल्छ । त्यस्तै मलेखु–भण्डारा चेपाङ राजमार्गको ट्रयाक खुलिसकेकाले यसलाई सञ्चालनमा ल्याउन सकिए नारायणगढ–मुग्लिनको उपयुक्त विकल्प हुने अध्यक्ष घिमिरेले बताए । ‘राज्यले मलेखु–भण्डारा राजमार्गलाई स्तरोन्नति गरी चाँडै सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भने, ‘यसो गर्न सके केही राहत मिल्ने थियो ।’ बाटोले गर्दा हवाईमार्ग प्रयोग गर्ने पर्यटक बढेका छन् । बुद्ध, यती र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन् । ‘सडकको अवस्थाले गर्दा ३ वटा ग्रुपले बुकिङ क्यान्सिल गरिसके,’ कसरास्थित जंगल भिल्ला रिसोर्टका सञ्चालक गणेश पौडेलले भने, ‘एउटा ग्रुप आउने तयारीमा भए पनि बाटोदेखि डरले आउन मानेका छैन ।’ उनले पहिला काठमाडौं, पोखरा हुँदै पर्यटक चितवन आउँथे । अहिले काठमाडौं र पोखरा मात्र जाने आउने गरेको उनले गुनासो गरे । ‘जाम भयो, आउन सकिएन भन्दै मुग्लिनबाटै पोखरा जाने पर्यटक धेरै छन्,’ उनले भने, ‘यो विषयमा सम्बन्धित निकाय गम्भीर नभए र विकल्प नखोजिए पर्यटन व्यवसाय चौपट बन्ने खतरा निश्चित छ ।’ असारदेखि भदौसम्म उक्त सडकमा समस्या बढी हुन्छ । पहिरोको जोखिम उच्च छ । पहिरो खस्नासाथ सडक अवरुद्ध हुन्छ । पहिरो खुलाउन २ दिनसम्म लाग्ने गरेकाले पर्यटक आगमन प्रभावित बन्न पुगेको हो । यता पर्यटन व्यवसायीको पहलमा बुद्ध एयरले भरतपुर–पोखरा उडानको तयारी थालेको छ । बुद्ध एयरका अनुसार आगामी भदौ ३० गतेबाट उडान सुरु हुनेछ । १८ जना क्षमताको जहाजले नियमित एक उडान गर्नेछ । यो खबरले निराश पर्यटन व्यवसायीमा थोरै खुसी थप्ने काम गरेको छ ।
  • पर्यटकले गन्तव्य फेरे
  • पोखरा–भरतपुर उडानको तयारी
अर्थ वाणिज्य

द्वन्द्वपीडितको ८ करोड फिर्ता

सुर्खेत (कास)– विस्तृत शान्ति सम्झौताअनुरूप द्वन्द्वपीडितका लागि आएको राहत रकममध्ये ८ करोड १० लाख ८३ हजार ५ सय रुपैयाँ फिर्ता भएको छ । रकम बुझ्न झन्झटिलो प्रक्रिया, सूचना अभाव, लगत विवरण छुटलगायतका कारण उक्त बजेट फिर्ता भएको स्थानीय शान्ति समितिले जनाएको छ । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले सुर्खेतमा द्वन्द्वका बेला मृत्यु, बेपत्ता, घाइते तथा अंगभंग भएका, अपहरणमा परेकाहरूका लागि राहतस्वरूप २० करोड ४० लाख ६४ हजार रकम पठाएको थियो । समितिका संयोजक मोहन थापाले विस्थापितका लागि आएको बजेटमध्ये २ करोड २८ लाख ९१ हजार ५ सय वितरण गरेको जानकारी दिए । जिल्लामा कुल ८ सय ५२ मध्ये ५ सय २७ लाई उक्त रकम वितरण गरिएको हो । २ करोड ८१ लाख ५ सय रकम फिर्ता पठाइएको छ । विस्थापित स्वयं उपस्थित हुनुपर्ने प्रावधानका कारण निवेदन परेकामध्ये ६३ जना रकम लिने नआएको उनले बताए ।

 

अर्थ वाणिज्य

बजेट खर्च नहुँदा ठूला आयोजना प्रभावित

- डीआर पन्त

धनगढी– प्रदेश ७ को सबैभन्दा बढी विकास बजेट भएको कैलालीमा सञ्चालित ठूला विकास आयोजनाले गति लिन सकेका छैनन् । विकास बजेट बढी भए पनि खर्च नहुँदा महत्त्वपूर्ण मानिएका आयोजनाको निर्माणमा सुस्तता आएको हो । विकास बजेटमध्ये गत आवमा पौने ३ अर्ब रुपैयाँ फिर्ता भएको छ । उत्तर–दक्षिण जोड्ने सडक आयोजना, कैलालीदेखि पहाडी जिल्ला जोड्ने खुटिया दिपायल फास्टट्रयाक निर्माणले गति लिएको छैन( । त्यसैगरी अत्तरिया–मोहना कैलाली भन्सार जोड्ने ६ लेन सडक आयोजना, पूर्व–पश्चिम ग्रामीण क्षेत्र जोड्ने हुलाकी राजमार्गलगायत सहरी विकास कार्यक्रमका बजेटका खर्च हुन नसक्दा प्रभावित भएका छन् । कैलालीमा यसअघिको भन्दा पनि २ प्रतिशत विकास बजेट कम खर्च भएको छ ।
पुष्पकमल दाहाल सरकारले दक्षिण–उत्तर जोड्ने विकासका लागि महत्त्वपूर्ण मानिएका आयोजनामा छुट्टयाइएको बजेट न्यून खर्च हुँदा पहाडी जिल्लाका विकास निर्माणसमेत प्रभावित भएका छन् । वर्षौंदेखि निर्माणाधीन रहेको खुटिया–दिपायल फास्टट्रयाक सडकमा आएको बजेटमध्ये २५ प्रतिशत पनि खर्च हुन सकेन । यो सडक ८२ किमि लामो छ । दु्रत मार्ग निर्माणमा आएको १४ करोड ५३ लाखमध्ये ४ करोड रुपैयाँ पनि खर्च हुन सकेको छैन ।तराईका ग्रामीण क्षेत्रको विकासमा महत्त्वपूर्ण मानिएको हुलाकी राजमार्गमा ३१ करोड ३३ लाख बजेटमध्ये १९ करोड १८ लाख रुपैयाँ मात्र खर्च भएको छ । कैलालीको वसन्ता वन क्षेत्रमा १९ किलोमिटर ट्रयाकसमेत खुल्न नसकेको उक्त राजमार्ग सम्पन्न भएको भन्दै अघिल्लो सरकारका मन्त्री रमेश लेखक र तत्कालीन नेपालका लागि भारतीय राजदूत रणजित रायले धनगढीमा उद्घाटन गरेका थिए । उक्त राजमार्गको भजनीदेखि धनगढी जोड्ने ८ पुलसमेत अझै बन्न सकेका छैनन् । यसैगरी मोहनापुल अत्तरिया ६ लेन सडक आयोजनामा पनि यस वर्ष कुनै खर्च हुन सकेन । कुल बजेटको १० प्रतिशत पनि हालसम्म खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
सडक आयोजना मात्र नभई जिल्लामा सबैभन्दा बढी विकास निर्माण खर्च भएको सहरी विकास तथा भवन डिभिजन कार्यालयको बजेट यस वर्ष फिर्ता भएको छ । उक्त कार्यालयको १ अर्ब ३२ करोड ३७ लाखमध्ये २७ करोड ८८ लाख रुपैयाँ मात्र निकासा भएको कोलेनिकाले जनाएको छ । बजेट फिर्ता हुँदा सघन सहरी विकास कार्यक्रम पनि प्रभावित भएको छ । ‘यस आवमा जिल्लामा ठूलो विकास बजेट फिर्ता भएको छ,’ प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरीले भने, ‘बजेट निकासाको स्थिति हेर्दा विकासे कार्यालयको ठूलो बजेट फिर्ता भएको छ ।’ कैलालीमा सहरी विकास तथा भवन डिभिजन कार्यालयको बजेट सबैभन्दा कम खर्च भएको देखिएको चौधरीले बताए । उक्त कार्यालयको पुँजीगत बजेट कम खर्च भएकाले जिल्लाकै कुल खर्चको अनुपातसमेत कम देखिएको छ ।
यसैगरी भूमिगत सिँचाइ कार्यालयको पनि निकै ठूलो बजेट खर्च हुन बाँकी छ । सिँचाइ डिभिजन कार्यालय, शिक्षा कार्यालय, जिल्ला प्राविधिक कार्यालय र जिल्ला समन्वय समितिलगायतका विकास बजेट भएका विकासे कार्यालयमा न्यून खर्च भएको कोलेनिकाले जनाएको छ । कार्यालयका अनुसार पुँजीगत र चालु गरी जिल्लामा पौने ३ अर्ब रुपैयाँभन्दा बढी बजेट फिर्ता भएको छ ।
जिल्लाको कुल बजेट १६ अर्ब २६ करोड ४६ लाखमध्ये २ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ खर्च हुन नसकेको कार्यालयले जनाएको छ । यो बजेट खर्च आव ०७२/७३ को भन्दा २ प्रतिशत कम हो । असारमा मात्रै पुँजीगत बजेट १ अर्ब ६४ करोड ८९ लाख ९२ हजार अर्थात् ३२.१० प्रतिशत खर्च भएको कोष नियन्त्रक मदनराज पाण्डेयले जानकारी दिए ।

 

 

अर्थ वाणिज्य

कोरला नाकामा पूर्वाधार निर्माण अघि बढ्दै

- विनोद त्रिपाठी
मुस्ताङको चिनियाँ नाकामा पर्ने कोरला भन्सार कार्यालय परिसर । तस्बिर : विनोद त्रिपाठी/कान्तिपुर

मुस्ताङ– चीनसँगको नाका कोरलामा सुक्खा बन्दरगाह राख्न सरकारी अधिकारीले तयारी थालेका छन् । गत वर्ष जग्गा नाप नक्सांकन गरी बन्दरगाहलाई आवश्यक जमिनको लालपुर्जा प्राप्त भएकाले भन्सार तथा पारवाहन अधिकारीहरू भौतिक निर्माणमा लागेका हुन् । मुस्ताङको कोरलास्थित भन्सार कार्यालय परिसरमा राख्ने बन्दरगाहको डिजाइन तयार भइसकेको छ । १४ महिनादेखि बन्दरगाह निर्माणको अध्ययन थालिएको थियो । उक्त अध्ययन प्रतिवेदनको आधारमा बन्दरगाह निर्माणलाई अघि बढाउने सरकारी निर्णय भएको हो । यही आर्थिक वर्षको बजेटमा रकम विनियोजन भइसकेकाले भन्सारको स्तरोन्नति र निर्माणको काम अघि बढेको छ । सरकारले बन्दरगाह निर्माण र यसको सञ्चालनका लागि समिति बनाएको छ । देशका सबै भन्सारअन्तर्गतका बन्दरगाह सञ्चालनका लागि बनाइएको समितिले हाल कोरलाको कामलाई अघि बढाएको छ । पाँच सदस्यीय समितिमा वाणिज्य मन्त्रालयका सचिव अध्यक्ष छन् । सदस्यमा राष्ट्र बैंकका डेपुटी गर्भनर, भौतिक मन्त्रालयका सहसचिव, उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष छन् । कोरला सुख्खा बन्दरगाह निर्माणका लागि यो समितिले उच्च प्राथमिकतामा राखेको छ । ‘हामीले कोरला बन्दरगाह निर्माणका लागि चरणबद्ध रूपमा योजना अघि बढाइसकेका छौं,’ नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले भने, ‘कोरला भन्सारको भौतिक निर्माण र बन्दरगाह स्थापनाका लागि आव ०७३/७४ मा बजेट विनियोजन गर्न सफल भयौं ।’ बन्दरगाह निर्माणका सबै पक्षको रिपोर्टिङ सरकारलाई समितिले बुझाइसकेकाले काम अघि बढिसकेको उनले बताए । ‘बन्दरगाह निर्माणका लागि जमिन प्राप्त भइसकेको छ, यसको डिजाइन पनि स्वीकृत भइसकेको छ,’ उनले भने, ‘भन्सारको काम त करिब अन्तिम चरणमा पुगिसकेको छ । बन्दरगाह निर्माणका लागि यही आर्थिक वर्षबाट काम सुरु गरिसकेका छौं ।’ ०६४ सालपछि बनेका सरकार र मातहतका वाणिज्यमन्त्रीबाट आवश्यक सहयोग भएकाले कोरला बन्दरगाह निर्माणमा कुनै जटिलता नदेखिएको उनले बताए ।
चीन र नेपाल सरकारबीच उत्तरतर्फका नौवटा नाका खुलाउन सकिने अवस्थाबारे अध्ययन भइसकेको उनले बताए । केपी ओली सरकारका पालामा भएको चीनसँगको पारवाहन सम्झौता र त्यही सम्झौतालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा चीन भ्रमणमा गरिएको सम्झौता पालना गर्ने प्रतिबद्धतालाई कार्यान्वयन गर्न नाका र यसका भौतिक संरचना सुधारमा सरकार अघि बढेको हो । ‘यो यस्तो सम्झौता हो, नाका, भन्सार, बन्दरगाह र सुरक्षाको अवस्थामा चीनले चित्त बुझाउने बित्तिकै स्वाभाविक रूपमै कोरला नाका खुल्छ,’ निर्देशक बस्नेतले भने । चिनियाँ अधिकारीले कोरला नाकालाइ उच्च प्राथमिकता दिएको उनले बताए । सामरिक र पहुँचगत दृष्टिकोणमा कोरला नाकाको कारोबार नेपाल चीनका लागि सहज हुने दुवै देशका अधिकारीबीच समझदारी छ, यसैका आधारमा पनि कोरलामा बन्दरगाह निर्माण थालिएको उनको भनाइ छ ।
सरकारले दुई वर्षदेखि यो बन्दरगाह निर्माणको गृहकार्य थालेको थियो । कोसी राजमार्गको किमाथांका र कालीगण्डकी करिडोर सडकको कोरला नाका खुलाउने योजनाअन्तर्गत बन्दरगाह निर्माण प्राथमिकतामा परेको छ । ‘यसको अध्ययन र आवश्यकतामा हामीले दुई वर्ष खर्चियौं, अब कार्यान्वयनको पाटोमा हामी अघि बढिसकेका छौं,’ बस्नेतले भने । नेपाली पक्षले भौतिक संरचना र सुरक्षाको तयारी पूरा गर्ने बित्तिकै चीनसँग हुने छलफलपछि नाका खुल्ने उनले बताए । यसका लागि अझै तीन वर्ष लाग्न सक्ने अनुमान छ ।
तयारी के के छ ?कोरलामा बन्दरगाह राख्न ०६४ सालमा भन्सार प्रक्रिया अघि बढेको हो । जोमसोममा मोटर चल्न सुरु गरेपछि कोरलाको भन्सारलाई सक्रिय बनाउने प्रयास भएको थियो । त्यसपछि राजनीति उतारचढावका कारण यो नाकाको स्तरोन्नति गर्ने काम ओझेलमा पर्‍यो । ४६ सय मिटर उचाइमा रहेको कोरलास्थित नेचुङ भन्सार कार्यालयमा वर्षभरि नै चिसोका कारण कोही कर्मचारी बस्न सक्दैनन् । केपी ओली सरकारका पालामा कोरला भ्रमण गरेका ३ उपप्रधानमन्त्रीले सुरक्षा र भन्सार निर्माणको कामले गति लिने आश्वासन दिएका थिए । गत वर्ष नै भन्सार र बन्दरगाहलाइ चाहिने जग्गा रेखांकन गरिएको थियो ।
नक्सांकन गरिएको १ सय ९ रोपनी जग्गाको लालपुर्जा भन्सारले पाइसकेको छ । त्यसैका आधारमा हाल भन्सारको भवन निर्माण, कर्मचारी बस्ने हट रुम (तातो घर), गोदाम घर निर्माण भइसकेको छ । ‘सरकार र विभागको निर्देशनअनुसार भवनलगायत निर्माणका काम सकेका छौं,’ मुस्ताङ भन्सारका प्रमुख शुक्रदर्शन ढुंगानाले भने, ‘हट रुम भएकाले अब कर्मचारी बस्न कुनै समस्या पर्दैन ।’ कम्पान्डलगायतका गोदाम घरहरू बनिसकेको उनले जानकारी दिए ।
गैंडाकोटबाट कोरलासम्मको ४ सय ३५ किमि सडक ३ वर्षभित्र काम सकिने कालीगण्डकी करिडोर आयोजनाले जनाएको छ । यसका लागि काम द्रुतगतिमा बढेको छ । बोर्डर आउट पोस्ट (बीओपी) सशस्त्र प्रहरी र उपल्लो मुस्ताङको लोमान्थाङमा सेनाको ब्यारेक राख्ने काम धमाधम भइरहेको छ । नेपालका तर्फबाट भएका यही तयारीका कारण चीनले कोरला नाका खुलाउनेमा कुनै शंका नरहेको समितिका कार्यकारी निर्देशक बस्नेतको धारणा छ । चीनले नेपालबाट जे चाहेको थियो, त्यो हामीले पूरा गर्दे छौं, सुरक्षा र भौतिक संरचना निर्माणले गति लिएको छ ।



अर्थ वाणिज्य

एफथ्री ब्ल्याक लिमिटेड एडिसन

छोटकरी

काठमाडौं (कास)– ओप्पोले एफथ्री ब्ल्याक एडिसनलाई लिमिटेड एडिसनमा परिणत गर्ने घोषणा गरेको छ । ३२ हजार ९ सय ९० मूल्य निर्घारण गरिएको एफथ्री ब्ल्याक एडिसनलाई नेपाली बजारमा प्राप्त सफलताका लागि उपभोक्ताप्रति कृतज्ञतास्वरूप लिमिटेड एडिसनका रूपमा घोषणा गरिएको जारी विज्ञप्तिमा छ । नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमै ब्रान्डले आफ्नो परिचय सेल्फी एक्स्पर्ट क्यामेरा फोनका रूपमा स्थापित गरिसकेको दाबी कम्पनीको छ । कम्पनीका अनुसार एफथ्री ब्ल्याकलाई लिमिटेड एडिसनका रूपमा लैजान अब फोनको उत्पादन बन्द गरिने र स्टक रहुन्जेल हुनेछ ।

 

अर्थ वाणिज्य

रेस्पोन्सिबल बिजनेस समिट हुने

छोटकरी

काठमाडौं (कास)– राजधानीमा अगस्टको पहिलो साता रेस्पोन्सिबल बिजनेस समिट (आरबीएस) को आयोजना हुने भएको छ । नेपालमा कर्पोरेट सामाजिक दायित्व र व्यापारमा राम्रो अभ्यासलाई बढावा दिनका लागि उक्त समिटको आयोजना गर्न लागिएको जारी विज्ञप्तिमा उल्लेख छ । अगस्ट ३ र ४ मा हुने उक्त दोस्रो समिटको आयोजना नेसनल बिजनेस इनिसिएटिभ (एनबीआई) ले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको सहकार्यमा गर्ने जनाइएको छ ।

अर्थ वाणिज्य

जुत्ता घरमा समर सेल मेला

छोटकरी

काठमाडौं (कास)– नेपाली जुत्ता घरको आयोजनामा राजधानीमा समर सेल मेला २०७४ सुरु भएको छ । गर्मीयामलाई लक्षित गरी मेलाको आयोजना गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । मेलामा नयाँ डिजाइन एवं मोडलका जुत्ताहरू नेपाली जुत्ताघरका विभिन्न सोरुमहरूमा उपलब्ध हुने आयोजनले जनाएको छ । मेला अवधिभर जुत्ताहरूमा खुद्रा बिक्री मूल्यमा ७० प्रतिशत छुट र ३ सयदेखि ५ हजार रुपैयाँसम्मका जुत्ता तथा चप्पल उपलब्ध हुने नेपाली जुत्ता घरले जनाएको छ । यस मेलामा उपभोक्ताले सर्वसुलभ मूल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको विकासका लागि एक अनुपम थलो हुने विश्वास आयोजकको रहेको जारी विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

सिम्बा ट्री अनलाइन स्टोर सञ्चालनमा

छोटकरी

काठमाडौं (कास)– सिम्बा ट्रिले राजधानीमा ‘टी एन्ड कफी विथ सिम्बा ट्री’ का साथ आफ्नो अनलाइन स्टोर सञ्चालनमा ल्याएको छ । फेसन सम्बन्धित अनलाइन स्टोर सञ्चालन गर्ने उक्त कम्पनीले आधुनिक प्राक्टिकल फाइबर र नेपाली स्थानीयको सम्मिश्रणका साथ नेपालको सांस्कृतिक विविधता झल्काउने उत्पादनका साथ उपभोक्तामाझ आएको जनाएको छ ।

 

Page 19
खेलकुद

३२ देश, ३०७ खेलाडी

एसियाली युथ/जुनियर भारोत्तोलन

आईडब्लूएफका अध्यक्ष तामस अजन (बीच) र महासचिव मोहमद हसन जलुद (दायाँ) सहित नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन र महासचिव पार्थ सारथी सेन (बायाँ) ।

 

काठमाडौं (कास)– एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा ३२ देशका तीन सय सात खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नेपाल भारोत्तोलन संघले बिहीबार जनाएको छ । उनीहरूसँगै ५० प्रशिक्षक र एक सय १९ अफिसियल गरी ३२ देशका ४ सय ७६ काठमाडौं आउँदै छन् ।
नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्र, लगनखेलमा सोमबारदेखि प्रतिस्पर्धा हुनेछ । पाँच दिने प्रतियोगितामा सबैभन्दा ठूलो टिम थाइल्यान्डको छ । उसले २२ खेलाडीसहित प्रशिक्षक र अफिसियल गरी ४५ जनाको नाम दर्ता गरेको छ । चाइनिज ताइपेईको पनि २८ खेलाडीसहित ४२ जनाको टिम छ । बहराइन, सिंगापुर, कतार र टिमोर लिस्टेका १–१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ९ पुरुष र ४ महिला गरी नेपालका १३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
तयारी गरेर पनि महाभूकम्पको कारण नेपालले सन् २०१५ को एसियाली भारोत्तोलन च्याम्पियनसिप आयोजना गर्न पाएको थिएन । त्यसैले अहिले एसियाली युथ तथा जुनियर च्याम्पियनसिप गर्न लागेको हो । महादेशीय प्रतियोगितामा यो युथतर्फ १९ औं, जुनियर महिलातर्फ २४ औं र जुनियर पुरुषतर्फ ३१ औं संस्करण हो । युवामा १३–१७ वर्ष र जुनियरमा १७–२० वर्षका खेलाडी सहभाग् िहुन पाउने छन् । युवामा ९४ र जुनियरमा १ सय ३ पुरुष खेलाडी छन् भने महिलातर्फ युवामा ५२ र जुनियरमा ५८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
यसपालि युथ र जुनियरमा महिला र पुरुष दुवैतर्फ आठ–आठ गरी कुल ३२ स्पर्धा समावेश गरिएको छ । आयोजनामा करिब एक करोड ७५ लाख ९६ हजार रुपैयाँ खर्च हुने संघले जनाएको छ । त्रिपुरेश्वरस्थित राखेकभर्डहलमा सन् १९८४ मा तेस्रो एसियन जुनियर च्याम्पियनसिप गरेयता नेपालले अन्तर्राष्ट्रिय भारोत्तोलनको सबैभन्दा ठूलो प्रतियोगिता गर्न लागेको हो ।
‘यो ट्रायल हो, सफल आयोजना गर्न सक्यौं भने हामीलाई विश्व च्याम्पियनसिप गर्न दिने आश्वासन पाएका छौं,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारोत्तोलन संघका अध्यक्ष रतन टण्डनले भने । युथ तथा जुनियर च्याम्पियनसिपका अवसरमा आएका अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (आईडब्लूएफ) का अध्यक्ष तामस अजन र महासचिव मोहमद हसन जलुद पनि पत्रकार सम्मेलनमा उपस्थित थिए ।
‘नेपालको संघ (भारोत्तोलन) उत्कृष्ट छ त्यसैले यति ठूलो रूपमा प्रतियोगिता आयोजना गर्दै छ,’ आईडब्लूएफ अध्यक्ष तामसले भने । महासचिव जलुदले नेपालले अरु पनि ठूला प्रतियोगिता आयोजना गर्न सक्ने र त्यसका लागि सहयोग गर्न तयार भएको बताए । उनी एसियाली भारोत्तोलन महासंघ (एडब्लूएफ) का पनि महासचिव हुन् । आईडब्लूएफले एसियाली युथ तथा जुनियर च्याम्पियनसिप आयोजना र खेलाडीलाई छात्रवृत्तिका लागि ३० हजार अमेरिकी डलर दिने बिहीबार घोषणा गर्‍यो ।
‘आईडब्लूएफले करिब २ करोड रुपैयाँबराबरको खेलसामग्री पनि पठायो र यो ठूलै उपलब्धि हो,’ संघका महासचिव पार्थ सारथी सेन गुप्तले भने । प्रतियोगिताअघि दुई दिन एडब्लूएफको साधारणसभा, कार्यसमिति बैठक र विभिन्न कमिटीको बैठक पनि काठमाडौंमा हुँदै छ । यसमा ३७ देशका प्रतिनिधि सहभागी हुनेछन् । एडब्लूएफ अध्यक्ष युसेफ अल माना भने विशेष कारण भन्दै सहभागी हुन नसक्ने बिहीबार जनाइएको छ । प्रथम उपाध्यक्ष योधाङतोय बुसाबा शुक्रबार आउने छिन् भने उपाध्यक्ष अब्दुल्लाह जमल काठमाडौं ओर्लिसकेका छन् ।

 

खेलकुद

उदांगिएको ब्याटिङ

अफगानिस्तानविरुद्ध आसिफ शेख आउट हुँदै र आदिल खान क्रिजमा जाँदै । रमन सिवाकोटी

 


काठमाडौं (कास)– आईसीसी यू–१९ विश्वकप छनोटको एसिया क्षेत्रमा नेपालले पहिलो पराजय भोगेको छ । पहिलो दुई खेल सजिलै जिते पनि निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाली टिम त्यही नियति दोहोर्‍याएपछि बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भयो ।
अफगानिस्तानको यो लगातार तेस्रो विजय हो । सिंगापुरमा भइरहेको प्रतियोगिताको डबल राउन्ड रोबिन लिग विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।
सिंगापुर क्रिकेट क्लबमा नेपालले टस जितेपछि आएको अफगानिस्तान ४९.४ ओभरमा १ सय ९० रनमै अलआउट भयो । तर जवाफमा आएको नेपालले २६ ओभरभित्रै ४९ रनमा समेटिएपछि लज्जास्पद हार बेहोरेको हो । अफगानिस्तानबाट दुई वान डे अन्तर्राष्ट्रिय खेलिसकेका नाभिन उल हकले ह्याट्रिकसहित ४ विकेट लिए । अफगानिस्तानको नवौं ओभरमा उनले दीपेन्द्रसिंह ऐरी, प्रनित थापामगर र अनिलकुमार शाहलाई लगातार बलमा आउट गरेका थिए ।
नेपालबाट पवन सर्राफले मात्र दोहोरो स्कोर बनाए । ५२ बल खेल्दै ३ चौका प्रहार गरी २६ रन बनाएका उनी नेपाली इनिङ्समा आउट हुने अन्तिम खेलाडी थिए । ओपनरद्वय सन्दीप सुनार २ र आसिफ शेख ६ रनमा आउट भए । आदिल खान र दीपेन्द्रले ४–४ रनमात्र बनाउन सके । त्यसपछि प्रनित, अनिल र रोहितकुमार पौडेल शून्यमा आउट भएपछि नेपालको ब्याटिङ हविगत प्रस्टिएको थियो ।
नाभिनका ओपनिङ बलिङ जोडी मुजिबले पनि ४ विकेट लिएका थिए । मुजिबले सन्दीप र आशिफलाई आउट गर्दा नेपालले ४ ओभर अन्तरमा सुरुको ६ विकेट गुमाएको थियो । ‘हामी निकै खराब खेलिरहेका छौं, जब १० ओभर खेल्नु अगाडि नै सुरुको ६ विकेट झरिसक्छ भने भन्नलाई केही बाँकी रहन्न,’ नेपालका प्रशिक्षक विनोद दासले भने, ‘हामीले निकै खराब ब्याटिङ गरिरहेका छौं ।’
उनले अगाडि भने, ‘४ बलको अन्तरमा हामीले शीर्ष ब्याट्सम्यान गुमायौं । त्यसमा विकेटको कुनै दोष थिएन । दोष हाम्रो खेल्ने तरिकाको थियो । ब्याट्सम्यानहरूले परिस्थितिअनुसार खेलेनन् । कसरी खेल्नुपर्छ भनेर हामीले प्रयास पनि गरेनौं ।’ अफगानिस्तानसँगको हारले नेपालको विश्वकपमा पुग्ने सम्भावना लगभग समाप्त भइसकेको छ ।
यसअघि अफगानिस्तानबाट ओपनरद्वय इब्राहिम जाद्रनले ४३ र नविद ओवाइदले ३३ रन बनाएका थिए । नेपालबाट शाहब आलमले ३, कप्तान सन्दीप लामिछाने र पवनले २–२ तथा दीपेन्द्र र किशोर महतोले १–१ विकेट लिए ।

 

 

खेलकुद

पीएसजीद्वारा रोमा पराजित

लस एन्जलस (एएफपी)– पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डेट्रोइटमा बुधबार खेलिएको एक मैत्री खेलमा एएस रोमालाई पेनाल्टीमा ५–३ हराएको छ । ब्राजिली डिफेन्डर माक्र्विनहोसले लिग वान महारथीलाई ३६ औं मिनेटमा अग्रता दिलाएकामा सादिक उमर नाबले ६० औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । ब्राजिली अन्तर्राष्ट्रिय खेलाडी डानी अल्भेसले पीएसजीका लागि डेब्यू गरेका थिए । उनले गत सातामात्र क्लबसँग १४ मिलियन युरोको सम्झौता गरेका थिए । यसै गरी म्यानचेस्टर सिटी व्यवस्थापक पेप ग्वार्डिओलाले सर्जियो अगुइरोलाई बेच्ने कुनै योजना नरहेको बताएका छन् । तर उनले ३ वा ४ नयाँ खेलाडी भित्र्याउने बारे कुरा भइरहेको बताए । ‘अगुइरो हाम्रा खेलाडी हुन्। हामीसँगै रहने छन्,’ उनले भने । तर ग्वार्डिओलाले आर्सनलका चिलियन खेलाडी एलेक्सिस सान्चेजबारे यसै भन्न सकेनन । सान्चेज इमिरेट्स छाड्न चाहिरहेको खबर लगातार आइरहेको छ तर व्यवस्थापक आर्सेन वेंगरले चाहिँ सान्चेज बिक्रीमा नभएको संकेत गरेका छन् । ‘एलेक्सिस आर्सनलका खेलाडी हुन् । आर्सेनले नै भनिसकेका छन्, म भन्दा उनी नै जान्ने छन्,’ ग्वार्डिओलाले भने । उनले रियल म्याड्रिडका रक्षक डानिलो र मोनाकाका बेन्जामिन मेन्डिसप्रति क्लब इच्छुक रहेको स्वीकारे । तर विस्तृत विवरण केही दिएनन् । ‘हामी ३–४ खेलाडीसँग कुरा गरिरहेका छौं । उनीहरूले कम्तीमा ३–४ वर्ष नै खेलुन् भन्ने दिमागमा छ । उनीहरू युवा खेलाडी हुन्,’ उनले भने ।

 

Page 20
खेलकुद

पुसमा फ्रेन्डसिप तेक्वान्दो

काठमाडांै (कास)– दुई वर्षको अन्तरमा हुँदै आएको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १२ औं संस्करण पुस १७ र १८ गते सुनसरीको इटहरीमा गरिने भएको छ ।
आयोजक आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको मिति घोषणा गरेका हुन् । यसअघि फ्रेन्डसीप तेक्वान्दो नेपालमा तीनपल्ट, अमेरिकामा पाँचपल्ट, बेलायत र हङकङमा एक–एक पटक भएको छ । पछिल्लो संस्करण अमेरिकाको पोर्टल्यान्डमा भएको थियो ।यस संस्करणमा नेपाललगायत अमेरिका, क्यानडा, इङल्यान्ड, मेक्सिको, मकाउ, हङकङ, जापान, दक्षिण कोरिया, ग्वाटेमाला, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायतका देशबाट ५ सयभन्दा बढी खेलाडीको सहभागिता आयोजकको अपेक्षा छ । प्रतियोगितामा स्पाइरिङ र पुम्सेमा प्रतिस्पर्धा हुनेछ । महिला र पुरुषको आधिकारिक ८–८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । उत्कृष्ट पुरुष/महिला खेलाडीले जनही ५० हजार तथा दुवैतर्फका उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपियाँ पाउने छन् । एक करोड सात लाख बजेट रहेको प्रतियोगितालाई सरकारले ३० लाख प्रदान गर्ने कार्यक्रममा जनाइएको थियो ।

 

खेलकुद

युथ टिमको लगातार तेस्रो हार

काठमाडौं (कास)– नेपाली युवा टिमले लेबनानसँग २–० को हार बेहोर्दै बुधबार एएफसी यू–२३ च्याम्पियनसिप २०१८ छनोटमा यूएई यात्रा टुंग्याएको छ ।अल अइन सिटीस्थित तहनोन बिन मोहम्मद स्टेडियममा भएको समूह ‘डी’ को अन्तिम खेलमा हसन कोउरानीले दुवै गोल गरेका थिए । लगातार तेस्रो हार बेहोरे पनि नेपाली टिमले सुधारिएको खेल प्रदर्शन गरेको प्रशिक्षक राजुकाजी शाक्यले दाबी गरे । यसअघि नेपाली टिमले युएईसँग ५–० र उज्वेकिस्तानसँग २–० को हार बेहोरेको थियो । तीनै खेल जित्दै उज्वेकिस्तान समूह विजेता हुँदै फाइनल चरणमा छनोट भयो । यूएई भने अझै छनोट हुने दौडमा छ ।

 

खेलकुद

मोराटा चेल्सीमा

लन्डन (एएफपपी)– चेल्सीले रियल म्याड्रिडका स्पेनी स्ट्राइकर अल्भारो मोराटालाई ८० मिलियन युरोमा किन्ने भएको छ । दुवै क्लबले बुधबार यससम्बन्धी घोषणा गरेका हुन् । ‘चेल्सी र रियल म्याड्रिडले अल्भारो मोराटाको स्टामफोर्ड ब्रिज सरुवाका विषयमा सहमति गरेका छन्,’ चेल्सीले आफ्नो वेबसाइटमा भनेको छ, ‘अब उनले आफ्नो व्यक्तिगत सेवासर्तमा सहमति गर्दै मेडिकल परीक्षा पार गर्न बाँकी छ । म्याड्रिडले पनि वेबसाइटबाटै यो विषयको जानकारी दिएको हो । ‘मोराटाले क्लबका लागि यतिका वर्ष गरेको व्यावसायिक योगदान सराहनीय छ,’ रियलले भनेको छ । चेल्सीले २४ वर्षीय मोराटाका लागि गत साता ७० मिलियन युरोको प्रस्ताव राखेको थियो । तर रियल अन्तत: ८० मिलियन युरोको सम्झौता गर्न सफल भयो । मोरोटाले रियलबाट ४३ खेलमा २० गोल गरेका थिए ।

 

 

खेलकुद

अमेरिका सेमिफाइनलमा

छोटकरी

अमेरिका सेमिफाइनलमा फिलाडेल्फिया (एएफपी)– संयुक्त राज्य अमेरिकाले बुधबार एल साल्भाडोरको कडा चुनौती पार लगाउँदै कोस्टारिकासँग कन्काकाफ गोल्डकप फुटबलको सेमिफाइनल पक्का गरेको छ ।
आयोजक मुलुकका लागि रक्षकद्वय ओमार गोन्जालेज र इरिक लिचाले पहिलो हाफमा गोल गरे । त्यसलाई जोगाउन उसलाई निकै हम्मे पर्‍यो । अमेरिका सन् २०१३ यताको पहिलो गोल्डकप उपाधि हत्याउन चाहन्छ । अमेरिकाले कोस्टारिकासँग शनिबार खेल्नेछ । कोस्टारिकाले चाहिँ पनामालाई १–० ले हरायो ।

खेलकुद

कभर्डहलमा नेटबल सुरु

छोटकरी

काठमाडौं (कास)– मंगलदीप र सामाखुसी बोर्डिङ स्कुल (सेब) प्रथम अन्तरस्कुल नेटबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । लिग चरणमा मंगलदीप अपराजित रहँदै ३ खेलबाट ९ अंक जोडेर समूह ‘ए’ को विजेता बनेको हो । एन्जल्स हार्टलाई ११–० ले हराएको मंगलदीपले सेबमाथि ११–४ स्कोरको जित निकाल्यो । एक खेलमा उसले वाकओभर पायो । तीन खेलबाट ६ अंक जोडेको सेबले पुष्पकुन्जलाई १२–७ ले र नवोदित स्कुललाई १७–२ ले हरायो ।

खेलकुद

ब्याडमिन्टन टिम प्रस्थान

छोटकरी

काठमाडांै (कास)– एसियाली जुनियर ब्याडमिन्टनमा भाग लिन नेपाली ब्याडमिन्टन टोली बिहीबार इन्डोनेसियाको जाकर्तामा गएको छ ।जुलाई २२ देखि ३० सम्म हुने प्रतियोगितामा ३–३ महिला–पुरुष खेलाडीले सिंगल्स, डबल्स, मिक्स डबल्स र टिम स्पर्धामा भाग लिने छन् । पुरुषमा प्रफुल्ल महर्जन, रविन लिङथेन र रुकेश महर्जन तथा महिलामा रशिला महर्जन, जेशिका गुरुङ र सुनैना मुखिया छन् । प्रशिक्षकमा किरण थापा र व्यवस्थापकमा उदयकुमार श्रेष्ठ छन् ।

 

Page 24
हेल्लो शुक्रवार

योङ देवताको बस्ती

विश्व समुदायले नेपालको सांस्कृतिक पहिचानसँग कुमारी परम्परालाई सायद सबैभन्दा धेरै जोड्छ । र, नेपालमै यस्तो ठाउँ पनि छ जहाँ दर्जनौं योङ लिभिङ गडेस भेटिन्छन् ।
- देवेन्द्र भट्टराई

तपाईंको नाम के हो ?
—द्यव मयजु अर्थात् छोरी देवता ।

त्यो त कुमारी देवीको अर्थमा होला । तपाईंको खास नाम के हो ?
– नागरिकतामै यही छ– द्यव मयजु वज्राचार्य ।

बुङमतीवासी द्यव मयजु अहिले उमेरमा ५२ लागिन् । उनले २०२२ सालमा ५ महिनाकै उमेरमा बुङमतीमा द्यव मयजु बन्ने रोलक्रम पाएकी थिइन् । ‘त्यो बेलाको केही पनि सम्झना छैन तर म आजीवन द्यव मयजु बन्न पाएको त्यही अवसरले गर्दा हो,’ द्यव मयजु भन्छिन् ।
ललितपुर जिल्लाको सुन्दर नेवार बस्ती बुङमतीमा झन्डै टोलैपिच्छेजसो ‘द्यव मयजु’ भेट्न सकिन्छ, अझ कतिपय त घरैपिच्छे । खोजी गर्दै जाँदा, अहिलेकी द्यव मयजु भने ७ वर्षीया किञ्जल वज्राचार्य नजिकैको त्रिरत्न सहकारी विद्यालयमा कक्षा १ की विद्यार्थी बनेर पढ्न गएकी रहिछन् । ५० वर्षअघिकी द्यव मयजु भने तल खेतबारीमा घाँस उखेल्दै थिइन् । २० वर्षअघि द्यव मयजु पालोमा परेकी गंगा वज्राचार्य वसन्तपुर, प्याफलभित्रको वल्र्ड हेरिटेज होटलमा दिनभरको ड्युटी पूरा गरेर साइकलमा बुङमती ओरालो झर्दै थिइन् ।
‘हाम्रा सन्तान–दरसन्तान हिसाब गर्ने हो भने हाम्रै टोल–बस्तीमा दर्जनौं कुमारी देवी भइसके,’ आफ्ना तीनै जना छोरी पालोक्रममा द्यव मयजु बनेको सन्दर्भ सुनाउँदै ५१ वर्षीय कमलराज वज्राचार्य भन्छन्, ‘यो आफूले चाहेर होइन, भगवान्ले दिएको आशीर्वादजस्तै हो ।’ उनको घरमा जुम्ल्याहा छोरी गंगा–जमुना र कान्छी छोरी सरस्वती (सोफिया) समेत कुमारी बनेका थिए । कमलराजकी बहिनी दुर्गादेवी पनि कुमारी बनिसकेकी छन् । कमलराज आफैं बुङमतीमा रहने रातो मच्छिन्द्रनाथका ८ मध्ये एक प्रमुख पुजारीसमेत हुन् ।
अहिलेकी कुमारी किञ्जलका बुबा मानरत्न वज्राचार्य बुङमती, कोटाटोलको पुस्तैनी घरमा बस्छन् जहाँ ‘बुङ बालकुमारी’ किञ्जललाई पनि राखिन्छ । त्यही कुमारी घरको मुनि मानरत्न काष्ठकलाको काम गर्छन् । ‘कुमारीका लागि भनेर सुरक्षित र अलग्गै व्यवस्थित घर अहिलेसम्म बन्न सकेकै छैन । जसको पालो पर्छ, उसको घरमा ‘कुमारी घर’ सर्छ,’ उनले सुनाए । वज्राचार्य वंशजअनुसार बन्ने कुमारीमा अबको पालो किञ्जलकै बहिनी कृपा (हाल १८ महिना) को छ ।
कुमारीका बुबा मानरत्न भने एउटै देवताका नाममा र उस्तै पूजाअर्चनाका लागि बनाइने कुमारीमा ठाउँपिच्छे सेवा–सुविधाको विभेद रहेकोमा अनौठो मानिरहेका छन् । उनका अनुसार, जबकि नजिकै पाटनको कुमारी र वसन्त कुमारीलाई भने राज्यले सेवा–सुविधा र सुरक्षासमेत दिएको छ । मच्छिन्द्रनाथ देवताका लागि पूरै पाठपूजामा खट्नुपर्ने चलन र परिबन्द भने बढी बुङमती कुमारीसँग जोडिएको छ । तर, यो संस्कृति जोगाउने कुरामा राज्य तहको भरथेग भने शून्य छ । मानरत्नका अनुसार, वसन्तपुरमा त कुनै पूर्वकुमारीको बिहेबारी हुँदा सरकारले ५० हजार रुपैयाँसम्म दिने गरेको छ भने मासिक ३ हजार रुपैयाँ भत्ता दिने चलन यथावत् छ । ‘सिंगो राज्य भने नेवार संस्कृति भनेर गर्व गर्छ, यही संस्कृतिलाई देखाएर ठूला कुरा गर्छ । तर बुङमती कुमारीको हकमा भने राज्यबाट कुनै प्रकारको भरथेग वा सहयोग गरिएको छैन,’ मानरत्न भन्छन्, ‘संस्कृति भनेको एउटा व्यक्तिले धान्ने कुरा होइन । यसमा त सिंगो समाज, राज्य नै लाग्नुपर्छ ।’
कुमारी किञ्जलका बाबु मानरत्नका अनुसार, हरेक संक्रान्ति, अष्टमी, पूर्णिमा वा पर्व/विधान पूजाका दिन कुमारीको ड्युटी झनै कठोर हुन्छ, विशेष हुन्छ । जस्तो, गत साता साउने संक्रान्तिकै दिन बिहान ३ बजे उठेर तयारी भई नित्य पूजामा बसेकी थिइन्, कुमारी किञ्जल । टाढाटाढादेखि भक्तजनहरू कुमारीको आशीर्वाद लिन आएका हुन्छन् । त्यो नियमित कामकुरा पूरा गरेर बिहान १० बजे विद्यालय कक्षामा पुग्न कुमारी किञ्जललाई हम्मे परिरहेको थियो । विद्यालयमा पनि नियमित विद्यार्थीभन्दा भिन्न (कुमारी ड्रेस) लगाएर र बोल्ने/खाने/बस्ने कुरामा ‘भिन्न’ बनेर कुमारी किञ्जल बसिरहेकी थिइन् ।
बुङमतीको ‘चिनारी’
रातो मच्छिन्द्रनाथ काठमाडौं उपत्यकामा वर्षा र सहकाल देवताका रूपमा चिनिन्छन् । देशभर अनिकाल र खडेरी मच्चिँदा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको किंवदन्ती रहिआएको पुजारी कमलराजको भनाइ छ । यही लोककल्याणकारी संयोगको स्मरणमा हरेक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा यथावत् छ । मच्छिन्द्रनाथ ६ महिना बुङमती र ६ महिना पाटनमा रहने गर्छन् ।
काठमाडौं उपत्यका र आसपासमा रहेका प्रचलित द्यव मयजुलाई राजकीय, तारिणी, किलागल, टोखा, ख्वप: (भक्तपुर), बुङमती, यल (पाटन), आजीवन कृष्ण मन्दिर कुमारी भनिए पनि यसमा हरेकको विशेषता अलग छ । पुजारी कमलराजका अनुसार रातो मच्छिन्द्रनाथको मुख्य पुजारी खलक बन्धुदत्त वज्राचार्यको खलकमा जन्मने छोरीहरू बुङमतीमा पालोक्रममा पुजारी बन्ने गर्छन् । ‘अंशुवर्मा कालदेखि चलेको चलन र बुङमतीको अस्तित्वमा जोडिएको दैवी कुरोलाई हामीले अनुसरण गर्ने मात्रै हो । हामीले मानेमा देवताले पनि मान्छन्, नमानेमा जथाभावी सुरु भइहाल्छ ।’
बुङमतीमा कुमारी पनि दर्जनौंको संख्यामा छन्, कुमारी घर पनि त्यत्ति नै छन् । आफ्नै आँगन–घर पनि छँदैछन् । द्यव मयुजसँग के बोल्ने/के नबोल्ने, के खाने/के नखाने, के गर्ने/के नगर्ने आफ्नै नियम छ । पुजारी कमलराजका अनुसार यसलाई कुमारीको ‘गृहस्थी नियम’ भनिन्छ ।
२०५६ सालमा ६ वर्षकै उमेरमा कुमारी बनेकी गंगा वज्राचार्य अहिले बीबीएस अन्तिम वर्षकी विद्यार्थी हुन् । उनी हरेक दिन बुङमतीबाट वसन्तपुरसम्म पढाइअनुसार होटल व्यवस्थापनको जागिर खान पुग्छिन्, आफ्नो ठाउँको चिनारीमा जोडिएकी उनी कहिले साइकल दौडमा ‘बुङमती कोरा’ अभियानमा हुन्छिन् भने कहिले पर्यटन प्रवद्र्धनका अरू उपायमा जोडिएकी हुन्छिन् ।
‘मच्छिन्द्रनाथ रथारोहणका बेलामा मात्रै धेरैले हाम्रो बुङमतीको नाम ख्याल गरिरहेका हुन्छन् तर, हामी (कुमारी) भने सधैंभर आफ्नो ठाउँको सांस्कृतिक र पर्यटकीय चिनारीमा जोडिएकै हुन्छौं,’ गंगा भन्छिन् ।
बुङमतीमा १२ वर्षे मेला चलिरहेका बेला २०६० सालमा कुमारी बनेकी नीलम वज्राचार्य अहिले विवाहित छिन् र घरपरिवार चलाएर बुङमतीमै बसेकी छन् । एसएलसीसम्म पढाइ पूरा गरेपछि घर व्यवहारले थिचेको बताउने नीलमलाई आफूलाई बुङमती र वरपर द्यव मयजु भनेर चिन्ने गरेकामा खुसी लाग्ने गरेको छ । ‘कुमारी देवी भनेर चिनिएकाले बिहे गरेर गएपछि पनि मैले कसैलाई ढोग्नु पर्दैन, कसैले ढोगाउन पनि लगाउँदैन,’ नीलम भन्छिन्, ‘यो कुमारीमाथि गरिएको सम्मान पनि हो ।’

Page 25
चटपट–झटपट

पल–पूजाको जोडी हिट

- सुशील पौडेल

पूजा शर्मा गत सातादेखि प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु’ की नायिका त हुन् नै, यसै फिल्मबाट निर्माता पनि बनेकी छन् । रिलिजअघि आफ्नै रिल जोडी पल शाहले पब्लिसिटीमा पर्याप्त समय नदिएकोमा गुनासिएकी पूजालाई यतिबेला भने राहत मिलेको छ । दर्शकले पलसँगको उनको जोडीलाई मन पराइदिएका छन् । यतिबेला फिल्मले सफलता चाख्दै गर्दा पल पनि पब्लिसिटीमा मज्जैले खटिएका छन् । त्यसो त फिल्ममा पनि पल र पूजाको पहिलो भेट नै घृणाबाट सुरु हुन्छ । एकले अर्काको चरित्रमाथि नै शंका गर्ने परिस्थिति देखिन्छ ।
यसअघि ‘प्रेमगीत’ मा पनि पूजा र प्रदीप खड्काको जोडी हिट बनेको थियो । रिल जोडी बाँधिदिन माहिर निर्देशक सुदर्शन थापा यसपटक पूजा र पलको जोडी पनि हिट हुनेमा पहिल्यै विश्वस्त देखिएका थिए । जबकि मोडलिङमा जमेका पललाई डेब्यु फिल्म ‘नाई नभन्नु ल ४’ बाट उत्साहजनक प्रतिक्रिया मिलेको थिएन । ‘म यस्तो गीत गाउँछु’ पछि भने यो जोडी दर्शकमाझ घेरिन थालेको छ भने पलका लागि मरिहत्ते गर्ने फ्यान
युवतीहरूको लर्को लागेको छ । चुनौती त अब पललाई हुनेछ, लगत्तै उनी अभिनीत अर्को फिल्म ‘जोनी जेन्टलमेन्ट’ पनि रिलिज हुँदै छ । जसमा उनको रियल जोडी मानिने आँचल शर्मा नै रिल जोडीका रूपमा रहेकी छन् । हेर्नु छ, दर्शकलाई कुन जोडी बढी मन पर्छ ।

चलेन सुशीलको जोर


पावरप्याक्ड बडीसहित हिरो बन्न आएका सुशील श्रेष्ठले ‘होस्टेल रिटन्र्स’ मा राम्रै ब्रेक पाए । एक्टिङ ठीकठाकै भए पनि बडी राम्रै देखाए । त्यसपछि केही समय गुपचुप देखिएका सुशील असारमै ब्याकटुब्याक देखिए । वर्षा सिवाकोटीसँग उनको ‘कारखाना’ रिलिज भएको दुई साता नबित्दै ‘सायद २’ आयो । तर दुवै फिल्मले व्यावसायिक सफलता हात पार्न सकेनन् । दुवै फिल्मको असफलताले लिडमा रहेका सुशीललाई घाटा पुग्यो । जबकि अघिल्लो फिल्ममा भन्दा उनको अभिनय यसपटक खारिएको थियो । एकपछि अर्को फिल्म फ्लप हुन थालेपछि सुशीललाई लिएरै फिल्म बनाउन चाहने निर्माता/निर्देशक पनि यतिबेला हच्किएका छन् । ‘होस्टेल रिटन्र्स’ मा अनमोल केसी दोहोरिन नमानेपछि उनको अभाव पूर्ति गर्न भनी निर्माता सुनील रावलले ब्रेक दिएका सुशीललाई उनैले पनि यतिबेला ‘लाउरे’ मा मौका दिएनन् ।

सुनीललाई धक्का


‘सायद’ मार्फत निर्माताका रूपमा आएका सुनील रावलले छोटो समयमै आफूलाई मात्रै नभई आफ्नो दुर्गिस ब्यानरलाई समेत स्थापित गराए । पहिलो फिल्मबाट पैसा कमाउन नसके पनि नाम कमाए । चर्चा कमाए । त्यसपछि उनले अनमोल केसीलाई ‘होस्टेल’ बाट हिरोमा डेब्यु गराउँदा फिल्मले पनि सफलता चाख्यो । त्यसपछि ‘होस्टेल रिटन्र्स’ बाट उनले थप उचाइ लिए । एकपछि अर्को सफलताले मस्त बनेका सुनीललाई यसपटक भने नराम्रो धक्का लागेको छ । ‘सायद २’ अनपेक्षित रूपमा चलेन । सधैं लिडमा नयाँलाई मौका दिने सुनील यसपटक भने ‘होस्टेल रिटन्र्स’ कै डेब्यू नायक सुशील श्रेष्ठलाई दोहोर्‍याएका थिए । बरु फिल्म हेर्नेले अर्का डेब्यु एक्टर अमृत ढुंगानाले दर्शक मन जिते ।
‘म यस्तो गीत गाउँछु’ सँगै जुधाएर फिल्म रिलिज गरेका सुनीललाई धक्का भने रिलिज अगावैदेखि लाग्न थालेको थियो । मोफसलका लागि ३० लाख रुपैयाँको मिनिमम ग्यारेन्टी दिएको वितरक कम्पनी एफडीले फिल्म रिलिजको पूर्वसन्ध्यामा उक्त सम्झौता तोडिदिएको थियो । एफडी सम्बद्धका अनुसार सुनीलले फिल्मका लागि आवश्यक प्रचारप्रसारसमेत नगरी निष्क्रिय बसेपछि आफ्नो लगानी खेर जाने डरले रद्द गरेको हो ।
त्यसो त सुनीललाई रिलिज फिल्मले मात्रै धक्का दिएको छैन । यतिबेला फ्लोरमा रहेको ‘लाउरे’ पनि उनलाई टाउको दुखाइ बनेको छ । सुटिङको मध्य भागमा पुगेपछि निर्देशक निगम श्रेष्ठले हात झिकेका छन् भने नायिका सृष्टि श्रेष्ठ पनि हात काटिएको घटनाले रेस्टमा बसेकी छन् ।

करोडकी स्वस्तिमा
स्वस्तिमा खड्का ‘होस्टेल रिटन्र्स’ बाट डेब्यु गरिन् सहनायिका बनेर । उक्त फिल्मबाट थोरबहुत क्रेडिट पनि पाइन् । त्यसपछि ‘लभ लभ लभ’ मा सोलो नायिका बनेर गत वर्ष देखा त परिन् तर यसपटक भने उनको खासै चर्चा हुन पाएन । जबकि फिल्म हेर्नेले उनको कामको खुलेर प्रशंसा गरे । तर फिल्म नै हेर्न भने कमै गए । आखिर भाग्य न हो, ‘दुई रुपैयाँ’ फिल्मको एक गीत ‘कुटुमा कुटु सुपारी दाना’ मा नाचिदिएकी स्वस्तिमाले यतिबेला नचिताएको चर्चा बटुलेकी छन् । उक्त गीतले सात हप्तामै युट्युबमा एक करोड बढी भ्युअर्स बटुलेको छ । आफ्नै पतिसमेत रहेका ‘दुई रुपैयाँ’ का नायक निश्चल बस्नेतसँग नाचेकी स्वस्तिमालाई कमेन्ट्समा समेत राम्रो प्रतिक्रिया मिलिरहेको छ ।
यसअघि नायिका प्रियंका कार्कीलाई यस्तो सफलता मिल्दै आएको थियो । ‘कुटुमा कुटु’ मा खुबै रुचाइएपछि भने अब भने प्रियंकाको विकल्प देखिएको फिल्मकर्मी बताउन थालेका छन् ।

चटपट–झटपट

चन्द्रको भलिउड छलाङ

- मनोज पौडेल

५० भन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरिसकेका चल्तीका युवा द्वन्द्व निर्देशक चन्द्र पन्तलाई भलिउडको रमझमले तानेको छ । त्यसो त कलिउडका विराज भट्ट, निखिल उप्रेती, रजनी केसीलगायत धेरै कलाकारलाई भोजपुरी चलचित्रले नतानेको होइन । दशकयता ठूलो फड्को मारेको भोजपुरी सिने उद्योगको मोहमा परेका पन्तले आफ्नो फिल्मी करियरको पहिलो चलचित्र निर्देशन नै भोजपुरीबाट गर्दैछन् ।
हाल वीरगन्ज क्षेत्र वरपर उनको भोजपुरी चलचित्र ‘निरहुवा चलल लन्डन’ को छायांकन धमाधम भइरहेको छ । असारे झरी दर्किरहँदा हवल्दार सुन्तली, मुखौटा, कृ, पल आदि चलचित्रको द्वन्द्व निर्देशन गरिसकेका पन्तको जोस रुझेको छैन । यो चलचित्रमा भोजपुरी सुपरस्टार दिनेशलाल यादव निरहुवा र चल्तीकी नायिका आम्रपाली दुबेको मुख्य भूमिका छ ।
साताअघि जोमसोम र पोखरामा चलचित्रको एउटा गीत तथा केही एक्सन दृश्य छायांकन गरेर वीरगन्जतर्फ आएको चलचित्र युनिट अहिले बाँकी दृश्य छायांकनमा व्यस्त छ । चलचित्रको ४० प्रतिशत दृश्यको छायांकन नेपाल र बाँकी लन्डन, स्कटल्यान्डमा गर्ने योजना रहेको पन्तले बताए । ‘६० दिनमा छायांकन सक्ने योजनाका साथ हाम्रो युनिट अहोरात्र काम गरिरहेको छ,’ उनले भने, ‘यसै गतिमा छायांकन भए योजनाबद्ध रूपमा आउँदो छठ पर्वका दिन चलचित्र रिलिज गर्न भ्याउने छौं ।’
पशुपतिनाथ प्रोडक्सन र खड्का फिल्मस्को ब्यानरमा निर्माणाधीन चलचित्रको निर्माताद्वय सुरज खड्का र सोनु खत्री हुन् । नेपालको मात्र नभई भारतको समेत भोजपुरी चलचित्र इतिहासमै सर्वाधिक बजेटको दाबी गरिएको यो चलचित्रको लागत करिब ४ करोड भारतीय रुपैयाँ रहेको पन्त बताउँछन् । भोजपुरी चलचित्रका सुपरस्टार जोडी निरहुवा, आम्रपाली र कमेडियन मनोज टाइगर समेतलाई मात्र पारिश्रमिक १ करोड भारुभन्दा बढी दिइएको छ । कलिउडका सुनील थापा र रश्मि भट्ट पनि चलचित्रमा अभिनय गर्दैछन् । थापाको भागको छायांकन लन्डनमा हुने पन्तले बताए ।
८ वटा गीत रहेको चलचित्रको जोमसोममा गरिएको एउटै गीतको छायांकनमा २० लाख रुपैयाँ खर्च गरिएको छ । ‘तुलनात्मक रूपमा नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजार पाइसके पनि भोजपुरी चलचित्र भारत र नेपालमा मात्र सीमित रहेकाले त्यसको पनि स्तर बढाउने हाम्रो प्रयास हो,’ पन्त भन्छन् । चलचित्रमा भारतीय चलचित्र कलाकारबाहेक सम्पूर्ण प्राविधिक नेपालकै रहेको उनले बताए ।
आगामी महिना लन्डनमा आयोजना हुन लागेको भोजपुरी फिल्म अवार्डमा चलचित्रको पहिलो गीत सार्वजनिक गर्ने योजना रहेको पनि उनले सुनाए ।

चटपट–झटपट

फ्युजन ब्युटी र लक्जरीको

- सुरज कुँवर

छर्लङ्ग र एकदमै सम्मुख लाग्ने सेता हिमशृंखला हेर्न नगरकोट जान नचाहने को होलान् ? काठमाडौंबाट मात्रै ३२ किमि पूर्व पर्छ यो अति लोकप्रिय हिलस्टेसन । यो थुम्कोमा छोटो तर रोमञ्चकारी बिदा मनाउन सकिने ६० हाराहारी रिसोर्ट छन् । जो अधिकांश उत्तरतर्फ बार्दली फर्किएको डिजाइनमा छन् । यही भीडमा यसै सिजनबाट थपिएको छ अर्को आधुनिक रिसोर्ट । जसलाई लगानीकर्ताले नाम दिएका छन्, होटल मिस्टिक माउन्टेन ।
करिब ३१ महिना लामो निर्माण कार्यपछि सञ्चालनमा ल्याइएको मिस्टिक माउन्टेन ‘भूकम्पपछि नगरकोट सकियो’ भन्दै नकारात्मक प्रचार गर्नेका लागि मुखभरिको जवाफ हुन सक्छ । नगरकोटबाट धुलिखेल निस्किने हाइकिङ रुटमा पर्ने यो रिसोर्ट बाक्लो अनि हरियो वनले ढाकिएको पहाडको खोंचमा निर्माण गरिएको छ । हालसम्म ६२ करोड रुपैयाँ लगानी गरिसकेका एक्ला लगानीकर्ता पर्यटन व्यवसायी बालकृष्ण धोजुले यसलाई अल्ट्रा लक्जरी होटल भन्न रुचाउँछन् । यहाँ अधिकांश पूर्वाधारमा भारत, चीन हुँदै इटालीसम्मको हार्डवेयर र प्रविधि प्रयोग गरिएको छ ।
सहरी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको घुमफिरमा रुचि बढ्दै गइरहेका बेला सञ्चालनमा ल्याइएको यो रिसोर्टले मध्यम र उच्च वर्गीय आन्तरिक पर्यटकलाई लक्षित गरेको छ । यहाँभित्र कफी सप, नेपाली र विदेशी रेसिपी फयुजन गरिएको मल्टी कुजिन रेस्टुरेन्ट र स्काई बारसहित तीन वटा आउटलेट सञ्चालन गरिएको प्रमुख सेफ महेशराज ढकालले बताए । यी तीन वटै हिमालतर्फ फर्किएका आरामदायी आउलेट हुन् ।
बार्दलीबाट देखिने अग्ला पहाडभन्दा माथि बादल देखिन्छ । मनसुन सिजनमा अझ पानी परेपछि देखिने इन्द्रेणी र हिमचुचुराको दृश्यले मोहित बनाइदिन्छ । सुन्दरता र लक्जरीको फ्युजन जो यो ठाउँलाई भनिएको छ ।
२७ रोपनी क्षेत्रफल भएको रिसोर्ट भिरालो पहाडमा बनाइएको छ । आर्किटेक्ट सञ्जयलाल श्रेष्ठका अनुसार भिरालो प्राकृतिक भूभागमा षटकोणीय ढाँचामा प्राकृतिक दृश्यलाई नबिग्रिने गरी तीन वटा ब्लक (घर) बनाइएका छन् । ती सबैलाई ब्रिजिङ गर्दै जोडिएको छ । यीमध्ये सबैभन्दा अग्लो ७ तलासम्मको छ । यहाँ ८ वटा सुइटसहित ७० डिलक्स रुम छन् । हरेक ब्लकमा अतिथिहरूका लागि आँगन राखिएको छ । जहाँबाट प्राकृतिक दृश्य हेर्न आनन्द मिल्छ । यो रिसोर्टमा अर्डरलगायतका सबै सर्भिसलाई आईसीटीसँग जोडिएको छ । सुइमिङ, ज्याकुजी वा उफ्रोमा हुनुहुन्छ भने रुमको फोन मोबाइलमै बज्ने र मोबाइलबाटै अर्डर टिपाउन मिल्ने प्रविधि राखिएको छ । अपांगमैत्री रिसोर्टमा एक रातको बसाइलाई १५ हजार रुपैयाँ र सुइटको ५० हजार रुपैयाँ मेनुमा लेखिएको छ । दुई जनाका लागि तोकिएको यो रेटमा एक रातको बसाइ, डिनर, ब्रेकफास्ट, स्न्याक्स, बेभरेजलगायतका सुविधा छन् । थप जानकारी मिस्टिक माउन्टेनको वेब वा फेसबुक पेजमा हेर्न सकिन्छ । ‘स्विमिङ पुल, लिफ्ट, ज्याकुजी, उफ्रो, मल्टीआउटलेट क्याफे/बार, एक्जुकेटिभ सुइट आदि भएको’ नगरकोटको एक मात्र रिसोर्ट आफूले बनाएको धोजुको भनाइ छ ।

Page 26
हेल्लो शुक्रवार

इकोलोजी, इकोनमी एन्ड सोसल इन्क्लुजन

- दामोदर न्यौपाने

दक्षिणकाली टौदहका कृष्ण गुरुङले स्विट्जरल्यान्ड गएपछि बुझे– ८ महिना हिउँले ढाक्ने, केही नफल्ने देश हाम्रो ठूलो दातामध्येमा पर्छ । हाम्रो भूगोल र त्यहाँको भूगोलमा फरक छ । हामीले प्रकृतिसँग माग्नुपर्ने केही छैन । हिमाल छ । पानी छ । सुगन्ध दिने माटो छ । प्रकृतिले सबै कुरा दिएको छ तैपनि हामी किन सधैं माग्ने ? स्रोत साधनले हामी विश्वका धनीमध्येका हौं । तैपनि हामी दाताको मुख ताक्ने देशमा पर्छांै ।
देशमै विकासको प्रचुर सम्भावना देखेका गुरुङ सपरिवार अमेरिका बस्थे । उनले त्यहाँका विभिन्न विश्वविद्यालयमा पढाए । पछि सपरिवारै नेपाल फर्किए । उनी आउजाउ गरिरहन्छन् अमेरिका । यहाँ बस्दा पनि उनी केही न केही सिर्जनशील काम गरिरहन्छन् । उनी एक दशकअघि बीबीसीले छानेको विश्वका १ सय १३ उत्कृष्ट सिर्जनशीलमध्येमा तेस्रो स्थानमा परेका थिए ।
यतिबेला टौदह जाँदा उनको एउटा उल्लेख्य सिर्जनशील काम हेर्न पाइन्छ । वातावरण (इकोलोजी) सँग आर्थिक क्रियाकलाप (इकोनमी) र आर्थिक क्रियाकलापसँग सामाजिक सेवा कसरी जोड्न सकिन्छ ? उनले यही कुरालाई मूर्त रूप दिएका छन् । गुरुङ परिवारले टौदह खहरेमाथिको पाखो हराभरा मात्रै बनाएको छैन, यही पाखोको आम्दानीले सामाजिक सेवा पनि गरेका छन् । यसले दिगो विकासमा कस्तो प्रभाव पारेको छ ? यसको अध्ययन गर्न विभिन्न देशबाट विद्यार्थी र अनुसन्धातासमेत आउँछन् ।
एकपटक यहाँ आउनेहरू गुरुङको सिर्जनशीलताबाट मोहित हुन्छन् । अनि पटक–पटक गइरहन्छन् । गत साता बालसाहित्यकार विनय कसुजु, प्रा.डा. चूडामणि बन्धु, प्रा. रामकुमार पाँडे, विजय आचार्य, नेत्र तामाङ, गंगा कसजु, अनन्त वाग्लेलगायत १९ जना साहित्यकार यहीं भेला भएका थिए । उनीहरूले बालबालिकालाई असल बनाउन कसरी साहित्य सिर्जना गर्ने भनेर छलफल गरे । यहीं बसेर १३ जना बालसाहित्यकारले कथा पनि लेखे ।
टौदह खहरेको बस स्टपबाट उत्तरतिर लाग्नासाथ सुरु हुन्छ केभिन–रोहन मेमोरियल इको फाउन्डेसन । सात वर्षीय छोरा केभिनको दुर्घटनामा मृत्यु भएपछि उनकै सम्झनामा खोलेका हुन् उनले यो फाउन्डेसन । शोकलाई यी कामले झन् शक्तिमा बदलेको उनी बताउँछन् । करिब १४ रोपनी क्षेत्रमा फैलिएको यो फाउन्डेसनमा छिर्नासाथ वातावरणमैत्री महसुस गर्न सकिन्छ । कोही खेतीपाती गरिरहेका भेटिन्छन् । कोही गाईको गोठमा हुन्छन् । कोही माहुरी पालनमा व्यस्त छन् । कोही फलफूल टिपिरहेका भेटिन्छन् । ‘यी सबै बायो अर्गानिक विधिबाट गरिएका खेती हुन्,’ कृष्णले सुनाए, ‘बायो अर्गानिक विधिबाट खेती नगरेकाले हामी पछि परेका रहेछौं ।’

के हो बायो अर्गानिक खेती ?
८० वर्ष अघिसम्म रासायनिक मल भित्रिएको थिएन । त्यतिबेला खेती प्रणाली अर्गानिक थियो । त्यतिबेला सय दाना बीउ रोप्यो भने तीन दाना मात्रै फल्दैनथ्यो । पछि रासायनिक मल आयो । यसले सबै बिरुवामा दाना फल्ने त भयो तर माटो बिगार्‍यो । ‘मल हालेका छौं, तर कसरी फलेको छ भनेर हेरेका छैनौं, गुरुङ भन्छन्, ‘५० प्रतिशत रासायनिक मल बिरुवाले लिन्छ । २५ प्रतिशत हावामा जान्छ र २५ प्रतिशत जमिनमा जान्छ । यसले बिरुवा मात्रै होइन, हावा, जमिनसमेत बिगारिदिएको छ । यसको दुष्परिणामबाट बच्न अर्गानिक खेतीको बहस चल्यो । अर्गानिक खेती पुरानै हो । तर बायो अर्गानिकचाहिँ नयाँ पद्धति हो ।’
बिरुवा सप्रन हावा, पानी मल मात्रै हैन सूर्य र चन्द्रमाको मुभमेन्टको पनि प्रभाव परेको हुन्छ भन्ने मान्यताले खेती गरिन्छ बायो अर्गानिक पद्धतिमा । सूर्य–चन्द्रको मुभमेन्ट बुझेर प्लान्टिङ क्यालेन्डर बनाइन्छ । बीउ रोप्ने समय हुन्छ । गोडमेल गर्ने समय हुन्छ । र, टिप्ने पनि समय हुन्छ । ‘गाँजर बिहान टिप्नु र बेलुका टिप्नुमा फरक हुन्छ,’ उनी उदाहरण दिन्छन्, ‘चन्द्रमाको प्रभावले गाँजरको पोषक तत्त्व बिहान पाततिर जम्मा भएको हुन्छ । बिहान गाँजर टिप्यो भने ३० प्रतिशत पोषक तत्त्व खेर जान्छ । फेरि सूर्यको गतिशीलताको प्रभावले पातबाट पोषक तत्त्व जरातिर जान्छ । बेलुका टिप्यो भने शतप्रतिशत पोषक तत्त्व गाँजरमा पाइन्छ । यो अध्ययनले गरेको पुष्टि हो । यो विज्ञान बुझेर खेती नगर्दा हामी पछि परेका हौं ।’
यो पद्धतिले इकोलोजी बिग्रँदैन । इकोलोजी नबिग्रने गरी गरिएको खेतीपातीलाई उनले आर्थिक गतिविधिसँग जोडेका छन् । उत्पादित अन्नपात यहीं खपत हुन्छ । पर्यटकका लागि क्याफे खोलेका छन् । आन्तरिक तथा बाह्य पर्यटक आउजाउ भइरहन्छन् । त्यसले आर्थिक गतिविधि बढाएको छ । आर्थिक गतिविधिलाई सेवासँग जोडिएको छ । यहाँ भएको आम्दानीको केही प्रतिशत सामाजिक काममा लगाएका छन् ।
हरेक महिना स्वास्थ्य शिविर हुन्छ । औषधि नि:शुल्क बाँड्छन् । यहाँबाट स्वास्थ्य सेवाका लागि झन्डै ७ किलोमिटर यात्रा गरेर बल्खु आउनुपर्छ । त्यहीं भएको चाल्नाखेल स्वास्थ्य चौकीको सेवा राम्रो छैन । ‘अब पोलिक्लिनिक खोल्न लागेका छौं,’ गुरुङ भन्छन्, ‘यसले स्थानीयवासीलाई स्वास्थ्य सेवा दिनेछ ।’
बालबालिकाका लागि शिक्षाको व्यवस्था पनि गरिएको छ । सक्नेले पैसा तिर्ने, नसक्नेका लागि नि:शुल्क पढाउने व्यवस्था गरिएको छ । अंकुरण किन्डरगार्डेनमा रहेका ९० जना विद्यार्थीमध्ये १४ जना नि:शुल्क पढ्छन् । पैसा तिर्न नसक्नेले त्यहाँको फर्ममा श्रम गर्नु भने पर्छ । महिनामा ४ दिन अभिभावकले श्रम गर्नुपर्ने नियम बनाइएको छ । ‘मेरो पनि लगानी छ भन्ने भावना जागोस् भनेर यसो गरिएको हो,’ गुरुङ भन्छन् ।
स्कुलमा १४ जनाले जागिर पाएका छन् । फर्ममा ५४ जनाले काम गर्छन् । तिनीहरूले बायो अर्गानिक खेती गर्ने तरिका पनि सिकेका छन् । यहींका बालबालिकालाई गुणस्तरीय शिक्षा दिइएको छ । अबको बीस वर्षपछि गुणस्तरीय जनसंख्या यहीं बनोस्, त्यही जनसंख्याले यो ठाउँ पनि बनाओस् भन्ने सोचाइ रहेको उनी बताउँछन् । ‘यही हो इकोलोजी, इकोनोमी र सोसल इन्क्लुजन भनेको,’ उनी भन्छन्, ‘यस्तो विकास दिगो हुन्छ ।’
दिगो विकासको नमुना हेर्न यहाँ विभिन्न देशबाट स्वयंसेवक र अनुसन्धानकर्मी आउँछन् । ‘हामी पैसा लिएर उनीहरूलाई सिकाउँछौं,’
उनी भन्छन्, ‘अहिलेसम्म ४६ देशबाट १२ सयभन्दा बढी यहाँ अध्ययन गर्न आएका छन् । अध्ययन गर्न आउनेमा १४ देखि १८ वर्षसम्मका बढी छन् ।’

हेल्लो शुक्रवार

एआईमा आँखा

- हेलो शुक्रबार

माइक्रोसफ्टले अघिल्लो साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि छुट्टै रिसर्च ल्याब खोल्ने घोषणा गरेको थियो । माइक्रोसफ्टको यो घोषणा कुनै नौलो थिएन किनकि यसअघि नै गुगल, एप्पलजस्ता उसका प्रतिस्पर्धी कम्पनी यो अभियानमा जुटिसकेका छन् । अहिलेका अधिकांश ठूला प्रविधि कम्पनीको ध्याउन्न आर्टिफिसियल इन्टेलिजेन्सको अनुसन्धानमा छ ।
आर्टिफिसियल इन्टेलिजेन्सलाई अर्को शब्दमा मेसिन लर्निङ पनि भन्न सकिन्छ । यसको सोझो अर्थ कुनै भौतिक मेसिन वा सफ्टवेयरले मानिसले बुद्धि लगाएर काम गरेजस्तै गर्न सक्ने प्रविधि हो । यसले गर्न सक्ने कामको सूची बनाउने हो भने निकै लामो हुन सक्छ ।
जस्तो : फेसबुकमा सामूहिक फोटो अपलोड गर्दा फोटोमा को–को व्यक्ति छन् भनेर चिन्न सक्ने भएको छ, फेसबुक । मानिसले आवाजमार्फत दिएको निर्देशनमा एप्पलको सिरीले मोबाइल र कम्प्युटरमा म्यासेज गर्ने, कसैलाई कल गर्नेदेखि अलार्म सेटसम्मका विभिन्न काम गर्न सक्छ । ठूला कम्पनीहरू कल सेन्टरबाट मानव जनशक्ति हटाएर सफ्टवेयरको भरमा आफ्ना उपभोक्ताको समस्याको सूची तयार पार्ने र त्यसलाई त्यसैमार्फत समाधान गर्न सक्षम भइरहेका छन् ।
यी केही उदाहरण भए जसलाई आर्टिफिसियल इन्टेलिजेन्सले समेट्छ । शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, बैंकिङ, प्रविधि, घरायसीसम्बन्धी अहिले धेरै सफ्टवेयर र उपकरणको विकास भएका छन् । त्यसमा प्रयोग भएका धेरै प्रविधिलाई एआई भन्न सक्छौं जसले मानिसले दिएको निर्देशन वा सिकाइको माध्यमबाट समस्या हल गर्न सक्छन् ।
फेरि अर्को उदाहरण लिऔं, मानिसले गर्ने काम अब रोबोटले गर्नेछ भनेर जति पनि चिन्ता व्यक्त गरिँदै छ, ती सबै एआईमा भएको प्रगतिका उपज हुन् । कुनै मेसिन भनौं वा सफ्टवेयर त्यसले मानिसले गर्ने एकै प्रकृतिका काम सिकेर त्यसैअनुसारको काम गर्न सक्ने भएको छ । जस्तो : कुनै कम्पनीको सर्भिस सेन्टरमा आउने समस्याहरू उस्तै प्रकृतिका हुन्छन् र अधिकांश ग्राहकको प्रश्न पनि उस्तै प्रकारका हुन्छन् । हरेक ग्राहकलाई सोही उत्तर दिन र उनीहरूका सोही प्रश्नको जवाफ दिन मानिस नै भइरहनुपर्छ भन्ने छैन । यसका लागि कुनै सफ्टवेयरले त्यो काम गर्न सक्छ ।
जस्तो : कुनै इन्टरनेट प्रदायक कम्पनीमा हरेक पटक ग्राहकले फोन गर्ने र सोध्ने प्रश्न एकै प्रकृतिका हुन सक्छन् । मेरो इन्टरनेट चलेन वा स्लो भयो । यसका लागि त्यहाँ सर्भिस सेन्टरमा काम गर्ने मानव जनशक्तिले दिने उत्तर पनि एकै हुन सक्छ । यसका लागि मान्छे नै किन चाहियो र ? एकपटक सफ्टवेयर बनाउन खर्च गरेपछि वर्षौंसम्म मानव जनशक्तिलाई दिनुपर्ने तलबको रकम जोगिन्छ । यसैकारण धेरै कम्पनीहरू धेरै मानिस खटेर एकै प्रकारले गर्नुपर्ने कामका लागि मेसिन वा सफ्टवेयरमा निर्भर हुन चाहन्छन् जसका कारण उनीहरूले खर्चमा कमी आओस् । यसअघि मानिसलाई धेरै बल लगाएर गर्नुपर्ने एकै खालको कामलाई मेसिनले विस्थापित गरेको थियो अब भने मानिसले बुद्धि लगाएर गर्ने काम पनि विस्थापित हुने जोखिम बढेको हो ।
तर यो प्रविधिले मानिसको रोजगारी खोस्ने मात्रै होइन, रोजगारीको अन्य अवसर सिर्जना पनि गरिरहेको छ । किनभने यो प्रविधि आफैं जन्मिने नभई मानिसले नै निर्माण गरेका हुन् । र, यो मानव नियन्त्रणबाहिर पक्कै जाने छैन् । यद्यपि केही वैज्ञानिक र जानकारहरूले एआईको सीमालाई नियन्त्रण गर्नुपर्ने आवाज भने उठाउन थालिसकेका छन् किनकि मानिसले सिकाएको मेसिन वा सफ्टवेयर मानिसकै लागि जोखिम बनेको देख्न कोही चाहँदैन ।
त्यसैले आर्टिफिसियल इन्टेलिजेन्सको विकासमा संसारभर धेरै कम्पनी र समूह सक्रिय छन् जो मानिसका लागि उपयोगी सफ्टवेयर वा मेसिन बनाउन उद्यत छन् । मानिसको कामलाई विस्थापित गर्न सक्ने कुनै सफ्टवेयर वा मेसिन बनाउन सके त्यसले उनीहरूलाई दिने सफलता धेरै ठूलो हुन सक्छ, त्यसैले सानादेखि ठूला कम्पनीहरू यस क्षेत्रमा खटिएका छन् ।
ठूला प्रविधि कम्पनीहरूको लगानी यो क्षेत्रमा बढ्दो छ । उनीहरू एआईको क्षेत्रमा केही उपलब्धिमूलक काम गरिरहेका साना खालका कम्पनीहरू खोजी–खोजी किन्न चाहन्छन् जसका कारण उनीहरूको अनुसन्धानमा सहयोग पुगोस् । गुगलले मात्रै अघिल्लो वर्ष एआईको क्षेत्रमा अनुसन्धान गरिरहेका ११ वटा कम्पनीलाई किनेर आफूमा समाहित गरिसकेको छ । उसले एआईको अनुसन्धानका लागि मात्रै डिपमाइन्ट र ब्रेनप्रोजेक्ट छुट्टाछुट्टै सञ्चालन गरिरहेको छ । यसमार्फत आएको धेरथोर उपलब्धि उसले आफ्नो भर्चुअल असिस्टेन्ट टुल गुगल असिस्टेन्टमार्फत प्रयोगकर्तासामु बाँडिरहेको पनि छ । गुगलका असिस्टेन्ट एप्पलको सिरीजस्तै प्रविधि हो जसले प्रयोगकर्ताले आवाजमार्फत दिएको निर्देशनअनुसार मोबाइलमा विभिन्न काम गर्न सक्छ ।
गुगलले सुरुवात गरेको चालकविहीन कार बनाउने होडमा अहिले संसारका सबैजसो ठूला कार कम्पनीहरू समाहित भइसकेका छन् । उनीहरूले इमेजमार्फत सडकमा गुडिरहेको गाडीहरूको अवस्था मूल्यांकन गरी सोहीअनुसार स्पिड नियन्त्रण गर्ने, साइड दिनेजस्ता काम गर्न सक्ने भएका छन् । यसका लागि केही गाडी निर्माता कम्पनीहरूले आफ्नै रिसर्च ल्याब खोलेका छन् भने केहीले प्रविधि कम्पनीसँगको सहकार्यमा अनुसन्धानमा जोड दिइरहेका छन् । केही सहरमा चालकविहीन कार गुडाउने परीक्षण भइरहेका छन् ।
हरेक क्षण मानवीय विवेक आवश्यक पर्ने यस्तो कामका लागि त मानव आवश्यक नपर्ने अवस्था आइसकेको छ भने मानिसले सिर्जनशीलताबिना हरेक पटक एकै काम गर्ने पेसाहरू के होलान् ? अब विस्थापित हुन्छ । सबैको अनुमान यही छ ।

हेलो टेक

५० अर्ब डिभाइस इन्टरनेटमा जोडिँदै

सन् २०२० सम्ममा संसारभर ५० अर्ब डिभाइस इन्टरनेटमा जोडिने नयाँ अनुमान सार्वजनिक भएको छ । अमेरिकी अनुसन्धान संस्था सफ्टवेयर डट ओआरजीले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनले यो तथ्य औंल्याएको छ ।
हरेक दिन नयाँ प्रविधि र सफ्टवेयरको विकासका कारण विभिन्न डिभाइसहरू इन्टरनेटमा जोडिने क्रम वृद्धि भएको भन्दै प्रतिवेदनले यस्तो अनुमान गरेको हो । जसका कारण कामको लागत घट्ने र ऊर्जा खपतसमेत घट्ने प्रतिवेदनको अनुमान छ ।
अनुसन्धानका क्रममा अन्तर्वार्ता गरिएको ५८ प्रतिशत नीति निर्माण तहमा काम गर्ने व्यक्तिले नयाँ–नयाँ डिभाइस इन्टरनेटमा जोडिनुलाई रणनीतिक काम भनेका छन् भने बाँकी २४ प्रतिशतले यसलाई ट्रान्सफर्मेसनका रूपमा लिएको प्रतिवेदनमा उल्लेख छ ।
इन्टरनेटसँग जोडिएको व्यापार सन् २०२५ सम्ममा वार्षिक ११ ट्रिलियन डलरभन्दा बढी हुने प्रक्षेपण छ ।

 

 

स्काइपलाई प्रयोगकर्ताको ‘डिस्लााइक’
स्काइपले एन्ड्रोइड एपमा डिजाइन परिवर्तन गरेको एक महिना भइसकेको छ । उसले सोही डिजाइन आईओएस एपमा परिवर्तन गर्दा भने ठूलो मूल्य चुकाउनुपरेको छ । दुई साताअघि स्काइपले आईओएसका लागि नयाँ डिजाइन रिलिज गरेको थियो जसलाई प्रयोगकर्ताले मन पराएका छैनन् ।
रिलिज भएयता यूके एप स्टोरमा यसको रेटिङ एक स्टारमा झरेको छ भने अमेरिकामा यो साढे तीन स्टारबाट साढे एक स्टारमा झरेको छ ।
स्काइपले विशेष गरी फेसबुकको म्यासेन्जर, इन्स्टाग्रामको डिजाइनजस्तै रंगीचंगी फिल्टर राखेको प्रयोगकर्ताले मन पराएका छैनन् ।

जीआईएफ मेकर परीक्षण गर्दै फेसबुक


फेसबुकले आईओएस डिभाइसमा आफ्नो एप प्रयोग गर्ने केही प्रयोगकर्तामाझ जीआईएफ क्रिएटर फिचरको परीक्षण सुरु गरेको छ । केही प्रयोगकर्ताले यसको अनुभव गर्न पाएका छन् ।
फेसबुक एपको क्यामेरा फिचरमा जीआईएफ क्रिएटरका लागि छुट्टै बटन राखेर परीक्षण सुरु गरिएको हो । जसबाट प्रयोगकर्ताले भिडियो खिच्दा स्वत: जीआईएफमा बदलिनेछ ।
सोसल मिडियोमा आफ्नो विचार व्यक्त गर्नका लागि जीआईएफ निकै लोकप्रिय माध्यम हो । फेसबुकका अनुसार गत वर्ष मात्रै म्यासेन्जरमा १२ अर्ब जीआईएफ आदानप्रदान भएको छ जसमध्ये ४ अर्ब जीआईएफ सन् २०१७ को नयाँ वर्षको दिनमा आदानप्रदान भएका थिए ।
भिडियो कन्टेन्टमा जोड दिएको फेसबुकले अहिले सानो संख्याका प्रयोगकर्तामाझ यो नयाँ फिचर परीक्षण भइरहेको जनाएको छ ।

Page 27
हेल्लो शुक्रवार

अद्भुत फेडेरर

- राजु घिसिङ

३५ वर्षको उमेरमा पनि फेडेररले जितिरहनुको कारण के हो ?
रोजर फेडेररले बिम्बल्डन ओपन टेनिसको फाइनलमा मारिन सिलिचलाई आइतबार पराजित गर्न दुई घण्टा पनि खेल्नुपरेन । उनले सजिलै तीन सेट जिते र कीर्तिमान आठौंपल्ट अल इंग्ल्यान्ड क्लबमा ट्रफी कब्जा गरे । उनले यसपल्टको उपाधि यात्रामा कुनै एक सेट पनि गुमाएनन् । त्यसैले बिम्बल्डनका आठ उपाधिमा यसलाई सबभन्दा उत्कृष्ट सफलता पनि भनिएको छ ।
स्वीस फेडेरर ३५ वर्षका भइसकेका छन् । तर टेनिस कोर्टमा उनी त्यस्तो बूढो लाग्दैन । उनले जसरी खेल्छन्, त्यो साँच्चै कुनै टिन एजर्सले खेलिरहेजस्तो लाग्छ । किनभने उनी लोभलाग्दो टेनिस खेल्छन्, उत्कृष्ट खेल्छन्, एकदमै मिहिनेत गर्छन् । उनको खेल क्लासिक हुने गर्छ । त्यसैले त उनीभन्दा आठ वर्ष कान्छो क्रोएसियाली सिलिच सेन्टर कोर्टमा फिक्का देखिए । यो उमेरमा पनि उनले जुन स्तरमा खेलिरहेका छन्, त्यसले उनी साँच्चै अद्भुत खेलाडी हुन् भन्ने प्रमाणित गर्छ ।
फेडेररको पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि पनि बिम्बल्डन नै हो, जुन उनले सन् २००३ मा जितेका थिए । त्यसमा विश्व टेनिसमा उनको आधिपत्यको सुरुआत भने पनि हुन्छ । विश्व टेनिसको सबभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता ग्रान्डस्लाम हो । ग्रान्डस्लाममा सर्वाधिक सफल पुरुष फेडेरर नै हुन् । उनले १९ पल्ट ग्रान्डस्लाम उपाधि हात पारेका छन् ।
ग्रासकोर्ट उनको फेबरेट हो । त्यसैले बिम्बल्डनमा सर्वाधिक सफलता हात पार्नुलाई उनका लागि अनौठो मान्नु पर्दैन । क्ले कोर्टमा खेलिने फ्रेन्च ओपन उनको प्रकृतिको खेल होइन । उनी २००९ मा भने फ्रेन्च ओपन च्याम्पियन नै भएका थिए । उनी क्ले कोर्टमा राफेल नडालसँग चारपल्ट फाइनलमा पराजित भएका थिए । उनै स्पेनी नडाल फेडेररको करिअरको सबभन्दा कडा प्रतिद्वन्द्वी हुन् । फेडेररले हार्डकोर्टमा हुने अस्ट्रेलियन ओपन र यूएएस ओपनको उपाधि पाँच–पाँच पल्ट जितेका छन् । सन् २००४, २००६ र २००७ मा उनले फ्रेन्च ओपनबाहेक तीनै ग्रान्डस्लाम जितेका थिए । लगातार १० ग्रान्डस्लामको फाइनल खेल्ने पनि उनी नै हुन् । ग्रान्डस्लाममा उनी २९ पल्ट फाइनल पुगेका छन् ।
शान्त स्वभावका फेडेरर २०१२ मा बिम्बल्डन ओपन च्याम्पियन भएपछि तीन ग्रान्डस्लामको फाइनलमा हारेका थिए । उनको उमेर पनि चढ्दै गएको थियो । नोकाभ जोकोभिच, एन्डी मुरेले उत्कृष्ट लय समातेका थिए । त्यसैले फेडेररकै समर्थकले पनि बेलैमा उनले संन्यास लिइदिए हुन्थ्यो भन्न थालेका थिए । तर फेडेररले र्‍याकेटको कला देखाउन छाडेनन् । ‘कहिलेसम्म भन्ने थाहा छैन तर टेनिस खेलिरहन्छु,’ फेडेररले भनेका थिए, ‘आई लभ टेनिस ।’
उनले पाँच वर्षको प्रतीक्षापछि बल्ल २०१७ मा आएर ग्रान्डस्लाम जिते । उनले मेलबर्नको चर्को गर्मीमा जनवरीमा नडाललाई हराएर यो वर्षको पहिलो ग्रान्डस्लाम (अस्ट्रेलियन ओपन) जितेका थिए । ३१ वर्षीय नडालले फ्रेन्च ओपन दसौंपल्ट जित्दा भने फेडेरर आराम गरिरहेका थिए । बूढाहरूको वर्षमा परिणत भएको २०१७ को अन्तिम ग्रान्डस्लाम यूएस ओपन अगस्टमा सुरु हुँदै छ । यसमा पनि फेरि बूढा खेलाडी नै जम्ने हो कि भन्ने बहस सुरु भइसकेको छ ।
कीर्तिमान ३ सय २ साता विश्व वरीयताको शीर्षस्थानमा रहेका फेडेररले १९ वर्ष लामो व्यावसायिक खेल यात्रामा ९३ उपाधि जितेका छन् । घुँडाको चोट र ढाडको दुखाइले सताइएका उनले गत वर्ष धेरै समय रिकोभरीमै बिताएका थिए । उनले १२ महिनायता टुरका सात प्रतियोगिता मात्र खेलेका छन् । तैपनि उनी तेस्रो वरीयतामा छन् । ‘नम्बर १ मेरो लक्ष्य होइन तर त्यो भयो भने मेरा लागि अविश्वसनीय नै हुने,’ उनले मिडियासँग भनेका छन् ।
फेडेररको टेनिस मोहसँग जोडिएको सफलताले थुप्रै प्रश्न तेस्र्याएको छ । यो उमेरमा अरूले किन उनले जस्तो खेल्न सक्दैनन् ? के अर्को पुस्ताका खेलाडी स्तरीय छैनन् ? उनी आफैंले भने युवा खेलाडीलाई अझ आक्रामक भएर खेल्ने सुझाव दिएका छन् ।