You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
Page 3
Page 4
Page 5
गृह पृष्ठ

‘बरु पार्टी नै विघटन गरौं’

माओवादी बैठकमा दाहालले भने
- बसन्त बस्नेत

पुष्पकमल दाहाल–
नीतिमुखी होइन, नेतामुखी भइयो, अब सच्याउनै नसकिने गरी कमजोरी बढिसकेका हुन् भने पार्टी नै विघटन गर्नेबारे सोच्न सकिन्छ

नारायणकाजी श्रेष्ठ–
नयाँ परिस्थितिलाई आत्मसात् गर्न सकिएन भने स्वत: विघटन हुँदै जान्छ, त्यसो गर्न दिनुभन्दा आफैंले विघटनको घोषणा
गरौं भन्ने कुरा हो

अग्नि सापकोटा–
क्रान्तिकारी सारतत्त्वसहितको माओवादी नबन्ने हो भने विघटन गरौं, त्यो एउटा सन्देश हुन सक्छ भन्ने
उहाँको प्रस्ताव हो
काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरूलाई प्रस्ताव गरेको खुलासा भएको छ। माओवादीले सशस्त्र युद्धदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै उनले अब दल विघटन गर्दा फरक नपर्ने बताएका हुन्। ‘माओवादी एउटा आन्दोलन थियो पार्टी मात्रै थिएन, हामीले २० वर्षअघि बनाउने भनेको माओवादी हिजोआजको जस्तो माओवादी थिएन,’ पाँच दिनअघि ७ साउनमा सकिएको माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा उठेका टिप्पणीको जवाफ दिने क्रममा दाहालले भने, ‘सबै साथीहरूबाट आएका विचारहरू समान किसिमका छन्– ‘गुटबन्दी मौलायो। नीतिमुखी होइन, नेतामुखी भइयो। जनतामा जान सकिएन। चुनाव लड्ने अनुभव भएन। अब हामीसँग सच्याउनै नसकिने गरी कमजोरी बढिसकेका हुन् भने पार्टी नै विघटन गर्नेबारे सोच्न सकिन्छ।’
उनले बैठकमा कार्ल माक्र्स र एंगेल्सको उदाहरण दिँदै थपे, ‘कम्युनिस्ट इन्टरनेसनलमा वैचारिक विवादहरू बढ्दै गएर व्यक्ति र गुटमुखी प्रवृत्ति मौलाएपछि माक्र्स र एंगेल्सले त्यसलाई विघटन गर्नुभएको थियो। त्यसबेला उहाँहरूको खुबै विरोध र आलोचना भयो। कालान्तरमा उहाँहरूले लिएको निर्णय सही रहेछ भन्ने पुष्टि भयो। हामीले आफ्ना गुरुहरूबाट किन नसिक्ने?’ बैठकमा सहभागी एक उच्च नेताको भनाइमा दाहालले माओवादी आन्दोलनले नेपालको राजनीति आधारभूत रूपमै बदल्न योगदान दिएको भन्दै यसलाई अरू पार्टीजस्तो दिनचर्या बिताउने छुट नभएको बताए। ‘उहाँले क्रान्तिको सफलतापछि हुर्किने नयाँ पुस्तालाई अगाडिको बाटो प्रशस्त गर्दै लेखपढ गरेर बाँकी उमेर बिताउन सकिनेभन्दा बैठकमा सन्नाटा छाएको थियो,’ अर्का नेताले भने, ‘अध्यक्षको यो भनाइ कुनै भावावेशमा आएको थिएन भन्ने कुरा उहाँको प्रस्तुतिको गहिराइबाट बुझ्न सकिन्थ्यो।’
नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहालबाट पार्टी विघटनको सन्दर्भ बैठकमा उप्किए पनि गम्भीरतापूर्वक नआएको बताए। ‘यथास्थितिमै पार्टी संगठन राखिरह्यो भने अहिलेको आन्दोलन नेतृत्व गर्न सकिन्न भनेर अध्यक्षले विघटन गर्न सकिने सन्दर्भ बैठकको सुरुवातमै राख्नुभएको थियो। पछि पनि अरू साथीहरूबाट यसबारे चर्चा चल्यो, तर घनिभूत बहस होओस् भन्ने उहाँको उद्देश्य होइन,’ नेता श्रेष्ठले भने, ‘नयाँ परिस्थितिलाई आत्मसात् गर्न सकिएन भने स्वत: विघटन हुँदै जान्छ। त्यसो गर्न दिनुभन्दा बरु आफैंले विघटन भएको घोषणा गरौं भन्ने कुरा हो।’
अर्का नेता अग्निप्रसाद सापकोटाले पनि दाहालबाट पार्टी विघटन गर्न सकिने प्रस्ताव बैठकमा आएको बताए। उनले यस्तो प्रस्ताव पार्टीलाई सही बाटोमा लैजानका लागि आएको भन्दै तत्कालै विघटनको सम्भावना भने इन्कार गरे। ‘माओवादी आन्दोलनले आफ्नो सफलता पाइसकेको अर्थमा उहाँले त्यसो भन्नुभएको हो,’ सापकोटाले भने, ‘जनताका लागि जीवन नै त्याग गर्न चाहने मनोविज्ञान आजभोलि देखिन छाडेकामा उहाँको चिन्ता हो। क्रान्तिकारी सारतत्त्वसहितको माओवादी नबन्ने हो भने विघटन गरौं, त्यो एउटा सन्देश हुन सक्छ भन्ने उहाँको प्रस्ताव हो।’ उनले दाहालको प्रस्ताव पार्टी सच्चिनुपर्छ भन्ने अर्थमा आएको दाबी गरे।
सन् १८७२ मा रुसी कम्युनिस्ट नेता मिखाइल बाकुनिनसँग चर्को मतभेद भएपछि कम्युनिस्ट इन्टरनेसनलको कार्यालय बेलायतबाट अमेरिका सारेको चार वर्षपछि सन् १८७६ मा माक्र्स र एंगेल्सले कम्युनिस्ट इन्टरनेसनल विघटनको घोषणा गरेका थिए। दाहालले त्यसै अनुभवबाट नेपालका कम्युनिस्ट क्रान्तिकारीले सिक्न सक्ने प्रस्ताव बैठकमा गरेका हुन्। बैठकमा सहभागी माओवादी केन्द्रीय सदस्य तथा दोलखा सहइन्चार्ज विशाल खड्काले अध्यक्ष दाहालबाट गुटबन्दी मौलाउँदै गएकामा चिन्तास्वरूप बैठकमा यस्तो प्रस्ताव आएको बताए। ‘बैठकमा सबैजसो साथीहरूबाट विचार समूहभन्दा पनि गुट समूहजस्तो गरी रिपोर्टिङ र समीक्षा भएपछि अध्यक्षले उसो भए अब पार्टी विघटन गरौं भनी प्रस्ताव गर्नुभएको हो,’ खड्काले भने।‘पार्टीमा पहिले वैचारिक लाइनका आधारमा अन्तरसंघर्ष हुन्थ्यो, अहिले व्यक्तिमा गएर बहसहरू ठोक्किए। सरकारमा जानका लागि जे पनि गर्न तयार हुनेजस्तो अवस्था देखियो। अध्यक्षपछि दोस्रो तहका कतिपयमा नेताभन्दा बिचौलियाको भूमिका बढी देखिएको समीक्षा चर्को रूपमा उठेपछि अध्यक्षले पार्टी विघटन गर्न सकिने विकल्प दिनुभएको हो,’ उनले भने। खड्काले माओवादी विघटनको बहस भावावेशभन्दा पनि वैचारिक महत्त्वको मुद्दा रहेको रूपमा बुझ्नुपर्ने छलफल भएको जानकारी दिए।
दाहालले यो प्रस्ताव बैठक टुंग्याउने क्रममा राखेको हुनाले अरू नेताहरूले भने यसमाथि टिप्पणी गर्न पाएनन्। शुक्रबार बस्ने हेडक्वार्टर बैठकमा नारायणकाजी श्रेष्ठलगायत असन्तुष्ट नेताहरूले यसबारे फरक मत राख्ने तयारी गरिरहेको स्रोतले बतायो। तर प्रवक्ता पम्फा भुसालले भने पार्टी संगठनको आन्तरिक व्यवस्थापन र तेस्रो चरणको स्थानीय चुनावका लागि केही प्राविधिक छलफलका लागि बैठक डाकिएको दाबी गरिन्।
सहभागीहरूका अनुसार अध्यक्ष दाहालले पार्टी गम्भीर दिशाहीनतामा फसेको स्वीकार गरेका थिए। शान्ति प्रक्रियामा आएपछि माओवादी अबको एउटा स्थायी राजनीतिक शक्ति हो भनी जनतालाई अनुभूति दिन नसकिएको भन्दै उनले आत्मालोचना गरेका थिए। ‘युद्धबाट शान्तिमा आउने र परिवर्तन संस्थागत गर्ने काम कम्ती जोखिमपूर्ण थिएन तर त्यत्रो साहसका बाबजुद शान्ति प्रक्रिया सफलताको श्रेय माओवादीलाई आएन,’ दाहालले भने, ‘जसले जे माग्यो, त्यही दिँदै जाने हुँदा माओवादी पार्टी नभएर परियोजनाजस्तो भयो। राजनीतिक गतिरोध खुलाउने बेलामा जहिले पनि माओवादी चाहिन्छ तर जसका लागि लडियो, उसैको मन जित्ने गरी संरचना बनाउन सकेनौं।’ दाहालले सर्वहारा, श्रमजीवी, उत्पीडितलगायत आधारभूत वर्गको मन जित्ने गरी पार्टी संगठन बनाउन चुकेको बताएका थिए। सहभागी नेताहरूले अध्यक्ष दाहाल प्रधानमन्त्री भएका बेला समृद्धि र सुशासनको नारा दिए पनि समाजवादी कार्यदिशा अख्तियार गर्न चुकेको भन्दै आलोचना गरेका थिए। ‘खालि समृद्धिको नारा छ, सामाजिक न्याय र जनताको पहुँच छुटाइयो,’ नेता खडकाले भने, ‘सामाजिक न्याय र आधारभूत जनतासँग जोड्ने गरी एजेन्डा लैजान नसक्दा माओवादीको औचित्यमाथि नै प्रश्न उठ्यो।’दाहालको यो खुलासासँगै पछिल्ला वर्षहरूमा आधा दर्जनभन्दा बढी टुक्रामा विभाजित भएर जोडिने प्रक्रियामा रहेको माओवादी पार्टीभित्र नयाँ बहसको बीजारोपण भएको छ। पछिल्लो स्थानीय चुनावमा तेस्रो स्थान सुरक्षित गरे पनि समग्रमा माओवादीको पराजय भएको बैठकले ठहर गरेको थियो।

गृह पृष्ठ

डा. केसीसँग वार्ता आज

- अतुल मिश्र

काठमाडौं– त्रिवि शिक्षण अस्पताल हातामा अनशनरत डा. गोविन्द केसीसँग सरकारी वार्ता समितिले शुक्रबार वार्ता गर्ने भएको छ। केसीको ११ औं अनशनको चौथो दिन बिहीबार मन्त्रिपरिदषद्ले डा. केसीसँग वार्ता गर्नका लागि शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको हो। समितिमा स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन्। सरकारी वार्ता टोलीले बिहीबार राति नै केसीलाई भेटी वार्ता गर्न आग्रह गरेको थियो। ‘हामीले डा. केसीलाई वार्तामा आउन आग्रह गर्‍यौं, उहाँले शारीरिक कारणले आफू सहभागी हुन नसक्ने जनाउँदै आफ्ना
प्रतिनिधि भोलि (शुक्रबार) वार्तामा बस्ने बताउनुभएको छ,’ वार्ता समितिका संयोजक श्रेष्ठले भने, ‘वार्तालाई छिट्टै निष्कर्षमा पुर्‍याउनेछौं।’ श्रेष्ठका अनुसार डा. केसीका प्रतिनिधिका रूपमा डा. वाईपी सिंह, डा. रञ्जन सापकोटा र डा. जीवन क्षत्री वार्तामा हुनेछन्।
सबै माग पूरा हुनुपर्ने अडान लिँदै डा. केसीले बिहीबार राति कान्तिपुरसँग भने, ‘माथेमा प्रतिवेदनअनुरूप हामीले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गरिनुपर्छ, हाम्रो सुझावको एउटा बुँदा पनि छुट्यो भने मेरो अनशन जारी रहनेछ।’ उनले माथेमा प्रतिवेदनमा भएका जनता र विद्यार्थीमुखी बुँदाहरू मस्यौदा समितिले नेता र माफियालाई खुसी पार्न हटाएको आरोप पनि लगाए। चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्तता दिने सम्झौता तुरुन्त कार्यान्वयन हुनुपर्ने औंल्याउँदै उनले ‘चलखेल गर्न खोसेर लिइएको संस्थानको अधिकार’ समेत विश्वविद्यालयले फिर्ता गर्नुपर्ने बताए।
त्रिवि शिक्षण अस्पतालले अनशनरत केसीको स्वास्थ्यमा निगरानी सुरु गरेको छ। यसका लागि सात सदस्यीय उपचार समितिसमेत गठन गरेको छ। प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठ संयोजक रहेको उक्त समितिमा प्रा.डा. दिव्या सिंह शाह, डा. सुभास आचार्यलगायत छन्। यसअघिका अनशनलाई हेर्दा डा. केसी भोको रहेको चौथो दिनपछि शरीरमा विभिन्न समस्या देखिन थालेका थिए। केसीको १० औं अनशन २२ औं दिनमा टुंगिएको थियो।

डा. केसीका मागमा तुरुन्त माथेमा प्रतिवेदनअनुरूप दिइएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न ६ वटा प्रक्रिया अपनाउनुपर्ने, आईओएममा तत्काल डिनको सिफारिसअनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त हुनुपर्नेलगायत छन्। आईओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषद्बाट आईओएममा फिर्ता गरिनुपर्ने, सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गरिनुपर्ने, चिकित्सा शिक्षा आयोग नबनेसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था हुनुपर्ने, एमडी/एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजका लागि २२ लाख कायम गरिनुपर्ने र आईओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यस्त बनाउने, आईओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रूपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरिनुपर्ने उनका माग हुन्।

 

 

गृह पृष्ठ

दार्जिलिङमा ‘अघोषित आपतकाल’

- पर्वत पोर्तेल
३२ वर्षयता जारी गोर्खाल्यान्ड आन्दोलनका क्रममा मारिएकाहरूको सम्झनामा बिहीबार सहिद दिवस मनाउन दार्जिलिङ लङभ्युको सहिद वेदीमा भेला भएका आन्दोलनकारी। तस्बिर : पर्वत/कान्तिपुर

दार्जिलिङ (भारत)– अलग प्रान्त गोर्खाल्यान्ड माग्दै दार्जिलिङमा जारी आन्दोलनले ५० दिन नाघेको छ। माध्यमिक विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने बंगाल सरकारको निर्णयपछि आक्रोशित स्थानीयले चर्काएको आन्दोलनले सन् १९८६ को रेकर्ड तोडेको छ। ८६ को आन्दोलनका तत्कालीन कमान्डर सुवास घिसिङले ४० दिने बन्दमा ‘फर्मान’ जारी गरेका थिए। उक्त आन्दोलनमा १ हजार २ सयभन्दा बढी जनता मारिएका थिए।
यसपटकको आन्दोलन विगतको तुलनामा कम हिंसात्मक देखिन्छ। अहिलेसम्म ९ आन्दोलनकारीको मृत्यु भएको छ। गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले आन्दोलनको रणनीति ‘मिनिमल क्याजुअल्टी, म्याक्सिमम एचिभमेन्ट’ रहेको बताए। ‘कम क्षतिमा धेरै उपलब्धि दिने रणनीतिमा छौं हामी,’ उनले भने। मोर्चा नेताहरूले बंगाल सरकारले दार्जिलिङमा अघोषित रूपमा आपतकालीन अवस्था सिर्जना गरेको बताए। ‘बंगालले अघोषित आपतकाल लागू गरेको छ,’ मोर्चाका केन्द्रीय उपाध्यक्ष विशाल क्षत्रीले भने, ‘बंगाल सरकारको रवैयाले दार्जिलिङ संकटकालको अवस्थामा पुगेको छ।’ खाद्यान्न, पेट्रोलियम, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव खट्किएको छ। ‘अझै नाकाबन्दी रहे जनता भोकभोकै मर्ने सम्भावना छ,’ सिलिगुडीका विजय रुचालले भने, ‘बंगाल सरकारले तानाशाही नीति जारी राखेको छ।’ उपाध्यक्ष क्षत्रीका अनुसार ३५ दिनदेखि इन्टरनेट सेवा र फोन प्रतिबन्ध जारी छ। चार दिनअघि भारतकै पहिलो नेपाली टीभी च्यानल ‘एबीएन नेटवर्क’ को प्रसारणमा समेत प्रतिबन्ध लगाइनु गणतन्त्रकै उपहास भएको उनले बताए। आन्दोलनका क्रममा सन् १९८६ देखि हालसम्म ज्यान गुमाएकाहरूको सम्झनामा बिहीबार दार्जिलिङका विभिन्न स्थानमा सहिद दिवस मनाइयो। सिलिगुडी प्रशासनले भने दिवस प्रभावित गर्ने नियतसाथ दार्जिलिङ मोड उत्तरको करिब १० किमि क्षेत्रमा बिहानैदेखि १४४ धारा लागू
गरेको थियो। सिलिगुडीदेखि सुकुनासम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो।
‘हामीले सहिद दिवस मनाउँछौं भनेर प्रशासनले कफ्र्यु जारी गर्‍यो,’ गोर्खा जनमुक्ति मोर्चाका तराई जोनल सेक्रेटरी छिरिङ दाहालले भनिन्, ‘आन्दोलन निस्तेज पार्न बंगाल सरकारले तानाशाही व्यवहार देखाइरहेको छ। केन्द्र सरकार मूकदर्शक छ।’आन्दोलनकारीले सरकारी सवारी तथा सरकारी भवनमा तोडफोड र आगजनी जारी नै राखेका छन्। प्रशासनले पनि सर्वसाधारणका घरमा छापा मार्ने, कुटपिट गर्ने काम रोकेको छैन। केही दिनअघि अनुगमनमा आएको राष्ट्रिय मानव अधिकारवादी संगठनको एक प्रतिनिधि मण्डलले दार्जिलिङमा प्रहरी ज्यादती बढेको भन्दै राज्य सरकारको ध्यानाकर्षण गराएको थियो।
‘गोर्खाल्यान्डबाहेक मान्दैनौं’
४३ दिनदेखि भोकभोकै होमिएका छन् आन्दोलनकारी। गोर्खाल्यान्डबाहेक कुनै व्यवस्था नस्विकार्ने उनीहरूको सामूहिक भनाइ छ। आन्दोलनकारीले राजनीतिक दललाई पनि गोर्खाल्यान्डबाहेक अन्य व्यवस्था स्वीकार नगर्न खबरदारी गरेका छन्। ‘अरू व्यवस्था थाप्न हामीले यत्रो दिनदेखि हडताल गरेका होइनौं,’ आन्दोलनकारी सुनील शर्माले भने, ‘गोर्खाल्यान्ड नभए नेतालाई छाडैनौं।’
गोर्खाल्यान्डका लागि सातादेखि आमरण अनशन पनि जारी छ। दार्जिलिङ, मिरिक, खर्साङ, कालिम्पोङ र डुबर्स क्षेत्रमा २० जना अनशन बसेका छन्। उनीहरूको स्वास्थ्य बिग्रँदो छ। कालिम्पोङमा अनशन बसेका राजु विश्वकर्माले भने, ‘बरु ज्यान जाओस्, गोर्खाल्यान्ड नभएसम्म अनशन छाडैनौं।’ केही दिनअघि मुख्यमन्त्री ममता बेनर्जीले आन्दोलन दबाउने नियतसाथ दार्जिलिङका राजनीतिक दलको सशस्त्र समूहसँग संलग्नता रहेको आरोप लगाएकी थिइन्। उक्त आरोप दलले ठाडै अस्वीकार गरे। मोर्चा अध्यक्ष विमल गुरुङले आक्रोश पोखे, ‘बंगाल सरकारले हामीलाई हतियार उठाउन बाध्य पार्दै छ।’ यसैबीच नवनिर्वाचित राष्ट्रपतिको शपथग्रहण समारोहमा दिल्ली पुगेकी बेनर्जीले तीन दिनअघि केन्द्रीय गृहमन्त्री राजनाथ सिंहसँग भेटेर दार्जिलिङ घटनाबारे ‘ब्रिफिङ’ गरेकी थिइन्। उक्त भेटपछि गृहमन्त्री सिंहले दार्जिलिङलाई अलग प्रान्त बनाउने कुनै तयारी नभएको प्रस्ट पारेका थिए। सर्वदलीय संयन्त्र गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटीले दिल्लीकेन्द्रित आन्दोलन सुरु गरेको छ। यसका लागि नेताहरूको एक टोली दिल्लीमा छ। कमिटी संयोजक कल्याण देवानका अनुसार दिल्लीमा धर्ना, जुलुसका साथै नेतृत्वसँग भेटघाट तीव्र पारिएको छ।
गोर्खाल्यान्डका लागि ‘चिठी आन्दोलन’
गोर्खाल्यान्ड आन्दोलनको समर्थनमा छिमेकी राज्य सिक्किमले चिठी आन्दोलन सुरु गरेको छ। प्रधानमन्त्री मोदीलाई पठाइने चिठीमा भारतको ३० आंैराज्यका रूपमा गोर्खाल्यान्ड गठन गर्न माग गरिएको छ। गोर्खाल्यान्ड संवैधानिक माग रहेको भन्दै सिक्किम राज्य सरकार र जनताले समर्थन जनाउँदै आएका छन्। आन्दोलनका अभियन्ता पत्रकार प्रवीण खालिङले गोर्खाल्यान्ड गठनका लागि दबाब सिर्जना गर्ने उद्देश्यले चिठी आन्दोलन सुरु गरिएको बताए। उनका अनुसार राज्यका सबै क्षेत्रबाट चिठी पठाइनेछ। अहिलेसम्म करिब २ हजार चिठी पठाइसकिएको छ। यो अभियान भारतभर विस्तार गरिनेछ। भारतभरका करिब डेढ करोड नेपालीभाषीले यो अभियानमा भाग लिने विश्वास खालिङले गरेका छन्।

Page 6
समाचार

मोदी–चाम्लिङ भेट

राष्ट्रपतिको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेका सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्। उनले दार्जिलिङको समस्या तत्काल समाधानका लागि ठोस कदम चाल्न मोदीलाई आग्रह गरेपछि आन्दोलनकारी थप आशावादी छन्।
‘गोर्खाल्यान्ड आन्दोलनको सबभन्दा बढी प्रभाव सिक्किमले भोग्दै आएको छ,’ चाम्लिङले मोदीसँग भने, ‘गोर्खाल्यान्डको स्थायी समाधान खोज्न जरुरी छ।’ चाम्लिङले हाल जारी आन्दोलनका कारण पश्चिम बंगाल सरकारले अघोषित नाकाबन्दी लगाएको मोदीलाई जानकारी गराएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। चाम्लिङले ३२ वर्षदेखि जारी गोर्खाल्यान्ड आन्दोलनका क्रममा सिक्किमका ५ हजार बढी सवारी साधन तोडफोड भएको र केही चालक मारिएको बताएका थिए। उनले अहिलेसम्म सिक्किमले ६० हजार करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति बेहोर्नुपरेको मोदीलाई जानकारी गराएको चाम्लिङका प्रेस सल्लाहकार भीम दाहालले जानकारी दिए। दाहालका अनुसार चाम्लिङले गोर्खाल्यान्ड संवैधानिक माग भएको बताउँदै बेलैमा पूरा नगरिए समस्या जटिल बन्नेतर्फ मोदीको ध्यानाकर्षण गराएका थिए।

समाचार

फेल भए पनि सुविधा पाउन आन्दोलन

- मकर श्रेष्ठ

काठमाडौं– शिक्षक सेवा आयोगले लिने परीक्षामा ४० नम्बर ल्याउन नसकेर अनुत्तीर्ण भए पनि सरकारले सुविधा दिनुपर्ने माग गर्दै अस्थायी शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आफ्नो माग पूरा गराइदिन भन्दै पूर्वराजा र सेनालाई गुहारेका छन्। अध्ययन अनुमतिपत्र नभएका, तालिम नलिएका शिक्षकलाई पनि आयोगले लिने परीक्षामा सहभागी गराउनुपर्ने उनीहरूको माग छ। ‘न्यायका लागि सबैतिर गुहारेको हो,’ निवेदन दिनेमध्येका शरदकुमार मिश्रले भने, ‘कतैबाट न्याय नपाएपछि पूर्वराजा र सेना गुहार्नुपर्‍यो।’ उनीहरूले अस्थायीलाई स्थायी बनाउन विज्ञापन गर्ने आयोगका अध्यक्ष ताना गौतम, आफ्ना पक्षमा फैसला नगरेको भन्दै न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे र प्रकाशमान सिंह राउतविरुद्ध महाअभियोगको प्रक्रिया अघि बढाइदिन भन्दै सभामुखलाई निवेदन दिएका छन्।
आयोग, शिक्षा मन्त्रालय, अदालतबाट समेत ‘माग सुनुवाइ’ नभएपछि सेना र पूर्वराजा गुहार्नुपरेको उनीहरूको तर्क छ। पूर्वराजालाई बुझाएको ‘बिन्तीपत्र’ मा भनिएको छ, ‘श्री ५ महाराजाधिराज सरकारले सरकार प्रमुख र राष्ट्र प्रमुख पदभार ग्रहण गरिबक्सँदा सबै प्रकार र तहका अस्थायी शिक्षकलाई स्थायीको अवसर दिने भनी गरेको व्यवस्थाको उल्लंघन गर्दै वर्तमान कथित लोकतान्त्रिक सरकारले हामी स्नातकोत्तर डिग्री भएका शिक्षकलाई नै स्थायी शिक्षक विज्ञापनमा उम्मेदवार बन्न नदिएकाले सर्वोच्च न्यायालय जाँदासमेत हाम्रा पक्षमा आदेश नदिएकाले रोजगारीको संरक्षण गरिदिन यो बिन्तीपत्र जाहेर गर्दछौं।’ यसरी हारगुहार गर्दै सेनालाई निवेदन दिने र पूर्वराजालाई बिन्तीपत्र चढाउनेमा शशि भन्ज्याङ मावि धादिङका प्रधानाध्यापक वसन्तकुमार श्रेष्ठ, चामुण्डा मावि काठमाडौंका प्रधानाध्यापक यादवप्रसाद पौडेल, गुहेश्वरी मावि सिनामंगलका शिक्षक दण्डपानी भुसाल, सिर्जनशील जनता मावि काभ्रेका शिक्षक डम्बरबहादुर लामा, प्रभात मावि कालिमाटीका शिक्षक शरदकुमार मिश्र, जनजागृति मावि काठमाडौंका शिक्षक कुमार लामा र प्रभात माविका सूर्यप्रसाद तिवारी छन्। उनीहरू विद्यालयमा पढाउन छाडेर आयोगदेखि पूर्वराजाको निवाससम्म धाइरहेका छन्। ‘काम नगरी आन्दोलनमा जाने गरेका छन,’ एक प्रधानाध्यापकले भने, ‘हाजिर मिलाएर तलब भने लिइरहेका छन्।’ बुधबार र बिहीबार विद्यालय छाडेर सिंहदरबारस्थित शिक्षा मन्त्रालयमै धर्ना दिन २० भन्दा बढी शिक्षक पुगेका थिए।
गत वर्ष असारमा संशोधन भएको शिक्षा ऐनमा अस्थायी शिक्षकले सुविधा वा परीक्षा रोज्नुपर्ने व्यवस्था गरिसकेको छ। ०४९ देखि ०७२ असोज २ सम्म नियुक्ति लिएर ऐन जारी भएको दिनसम्म कार्यरत अस्थायी शिक्षकलाई यो सुविधा दिइएको थियो। ऐनमा एक वर्षभित्र विज्ञापन गराउनुपर्ने व्यवस्थाअनुसार आयोगले चैतमा स्थायीका लागि विज्ञापन खुलाएको थियो। आउँदो भदौ ३ गते त्यसको परीक्षा तय गरिएको छ। ‘चाकडी र भनसुन’ को भरमा अस्थायी शिक्षकमा प्रवेश गरेकालाई सरकारले स्थायी नियुक्ति गरी स्थायित्व प्रदान गर्न विज्ञापन गर्दा उल्टै उनीहरूले विरोध गरिरहेका छन्। विरोध गर्नेमा ०६१ देखि ०७२ सम्म अस्थायी नियुक्ति पाएका सीमित शिक्षक छन्। यसपल्टको विज्ञापनको विरोध गर्नेमा यसअघि तीनपटक लिइएको परीक्षामा अनुत्तीर्ण धेरै छन्। शिक्षा ऐनमा ०६१ अघिका जति व्यक्ति कार्यरत थिए, त्यति नै दरबन्दी कायम गरेर विज्ञापन गरिएको छ। ०६१ देखि ०७२ सम्म नियुक्त भएका कार्यरत अस्थायी शिक्षकलाई ४९ प्रतिशत र खुला प्रतिस्पर्धाबाट ५१ प्रतिशत पूर्ति गर्ने व्यवस्था गरिएको छ। ऐनमै भएको व्यवस्थाअनुसार आयोगले गत चैत १९ मा प्रावि, निमावि र मावि गरी १९ हजार २ सय ६५ शिक्षक दरबन्दीमा विज्ञापन खुलाएको थियो। यसमा १५ हजार ६ सय ९१ ले आवेदन दिएका छन्।
०६१ पछि नियुक्ति पाएका शिक्षकको सेवा अवधि बढीमा ११ वर्ष मात्रै हुन्छ। ऐनअनुसार १० वर्षसम्म कार्यरत अस्थायी शिक्षकले सुविधा रोजे प्रत्येक वर्षको आधा महिनाको मात्रै तलब पाउँछन्। परीक्षा छाडेर सुविधा रोज्दा न्यून रकम पाइने र परीक्षामा जाँदा उत्तीर्ण नहुने डरले सरकारलाई अनुत्तीर्ण भए पनि सुविधा दिनुपर्ने भन्दै घुँडा टेकाउन खोजिएको छ। आन्दोलनमा सहभागीमध्ये ०६५ अघि अस्थायी भएका शिक्षक बढी छन्। उनीहरूलाई ०६९ यता नियुक्ति पाएका शिक्षकले राम्रो नम्बर ल्याएर पास गर्छन् र आफू अनुत्तीर्ण हुन्छु भन्ने त्रास छ। परीक्षामा अनुत्तीर्ण भए पनि सुविधा दिन माग गर्दै अस्थायी शिक्षकहरू अनशनसमेत बसेका थिए। अनशन तोडाउन शिक्षा मन्त्रालयले परीक्षामा अनुत्तीर्ण भए पनि परीक्षामा सहभागी गराउने गलत सम्झौता गरेकै कारण उनीहरू पछिल्लो समय चौतर्फी धाइरहेका छन्।
मन्त्रालयले शिक्षा ऐन संशोधन गरेर यो व्यवस्थाको प्रक्रिया अघि बढाउने सम्झौता अनशनका बेलामा गरेको थियो। त्यसअनुसार शिक्षा मन्त्रालयले ऐन संशोधनका लागि अर्थ मन्त्रालयमा रायका लागि पठाइएकोमा सहमति नदिने भएको छ। ‘यसअघिको ऐनअनुसार सुविधा वा परीक्षा रोज्नुपर्ने प्रावधानअनुसार परीक्षा मितिसमेत तोकिइसक्यो,’ शिक्षा मन्त्रालयका एक सहसचिवले भने, ‘यो व्यवस्थाअनुसार १५ हजार शिक्षकले आवेदन दिइसकेका छन्। यस्तो बेला किन ऐन संशोधन गर्नुपर्‍यो।’ आन्दोलनरत शिक्षकहरू पुन: परीक्षा सार्ने चलखेलमा समेत लागेका छन्। आयोगले खुलाएको विज्ञापनमा अनुत्तीर्ण भएको कोटामा दक्ष शिक्षकले प्रतिस्पर्धा गर्न सक्नेछन्। सरकारलाई झुकाउन खोज्ने अस्थायी शिक्षकको नाममा भइरहेको आन्दोलनले सुविधा लिन जान चाहने करिब १० हजार शिक्षकलाई बाधा पुर्‍याएका छन्। प्रावि, निमावि र माविका ०६१ भन्दा अघिसम्म कार्यरत ९ हजारभन्दा बढी शिक्षक सुविधा लिएर बिदा हुन चाहेका छन्। तोकिएकै मितिमा परीक्षा सञ्चालन हुने हो भने बेलैमा सुविधा लिन सक्ने थिए। माध्यमिक तहसम्मको व्यवस्थापनको अधिकार संविधानले स्थानीय तहलाई दिइसकेको छ।
यो व्यवस्थाले अस्थायीले पाउने भनिएको सुविधाबाट समेत वञ्चित हुने सम्भावना पनि उत्तिकै रहेको विज्ञहरू बताउँछन्। ‘अहिले विभिन्न माग राखेर परीक्षा हुन नदिन अस्थायी शिक्षकहरूले नै प्रपञ्च रचिरहेका छन्,’ एक सहसचिवले भने, ‘शिक्षा ऐन संविधानसँग पनि बाझिएको छ। अब स्थानीय तह व्यवस्थापन गर्ने ऐन बनेपछि स्थानीय पदाधिकारीले शिक्षामा भएको व्यवस्था हामी मान्दैनौं भन्यो भने सुविधा पाउने सम्भावना पनि न्यून हुन्छ। त्यसैले आन्दोलन छाडेर परीक्षामा सहभागी हुनु उपयुक्त हुन्छ।’

  • पूर्वराजा र सेनालाई गुहार
  • भदौ ३ मा तय भएको परीक्षा सार्न ‘चलखेल’
समाचार

मागभन्दा कम आवेदन

 

शिक्षक सेवा आयोगले अस्थाथी शिक्षकलाई स्थायी गर्न भदौ ३ मा लिन लागेको परीक्षामा माग गरेको भन्दा साढे तीन हजार कम आवेदन परेको छ। प्राथमिक तहमा १४ हजार ३ सय ५५ जना माग गरेकामा १० हजार ४ सय १४ जनाले आवेदन दिएका छन्। ०४९ अघिका शिक्षकका लागि खुलाइएको विज्ञापनमा १ हजार १ सय ३९ जना माग गरिएकामा ८७ जनाले मात्रै आवेदन दिएका छन्। ०४९ देखि ०६१ का अस्थायी शिक्षकका लागि भएको विज्ञापनमा ९ हजार २ सय ११ दरबन्दी तोकिएकामा ३ हजार ५९ जनाले मात्रै आवेदन दिएका छन्। ०६१ देखि ०७२ सम्म भने प्राविमा आवश्यकभन्दा बढी आवेदन परेको छ। ४ हजार ५ जना आवश्यक पर्नेमा ७ हजार २ सय ६७ जनाले आवेदन दिएका छन्। निमाविमा २ हजार ८ सय ६१ शिक्षक चाहिनेमा २ हजार ८ सय ५ जनाले आवेदन दिएका छन्। मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चलमा नेपाली विषयमा समेत आवश्यक संख्यामा आवेदन परेको छैन। नेपालीमा ५० जना चाहिनेमा ५ जनाले मात्रै आवेदन दिएका छन्। माध्यमिक तहमा ०४९ अघि कार्यरत शिक्षक कसैले पनि परीक्षा दिन चाहेका छैनन्। सबैले सुविधा रोजेका छन्।

समाचार

संसद्को एप्स र नयाँ वेबसाइट

काठमाडौं (कास)– सभामुख ओनसरी घर्तीले बिहीबार संसद्को नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक गरेकी छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा बनेको नयाँ वेबसाइट पार्लियामेन्टडटजीओभी डट एनपीमा संसदीय गतिविधि र संसद्सम्बन्धी जानकारी उपलब्ध छन्।

समाचार

जिट्रो कार्यालय स्थापनाको पहल

टोकियो (कास)– जापानी लगानीकर्तालाई वातावरण बनाउन जापानस्थित नेपाली दूतावासले पहल थालेको छ। यसका लागि जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र जापान एक्स्टर्नल ट्रेड अर्गनाइजेसन (जिट्रो) प्रमुख हिरोयुकी इसिगेबीच बुधबार टोकियोमा औपचारिक वार्ता भएको हो। जिट्रोले विदेशमा जापानी लगानीकर्ता र व्यवसायीलाई सहयोग गर्दै आएको छ। जिट्रो प्रमुख इसिगेले नेपालमै जिट्रोको कार्यालय स्थापना गर्ने जानकारी गराएका हुन्।जिट्रोको कार्यालय स्थापना भएपछि नेपालको आर्थिक, औद्योगिक र प्राविधिक क्षेत्रमा लगानी गर्न चाहने जापानीलाई सहज हुने ठानिएको छ। जापानी उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानीका अवसरका बारेमा जानकारी गराउन दूतावासले लगानी कार्यशालाको तयारीसमेत गरिरहेको छ।

समाचार

कोरियाली राजदूतले भेटे प्रधानसेनापति

छोटकरी

काठमाडौं (कास)– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेट गर्दै दुईपक्षीय हित र सैनिक सम्बन्ध लगायतको विषयमा छलफल गरेका छन्। जंगी अड्डामा भएको शिष्टाचार भेटमा कोरियाली प्रायद्वीपको पछिल्लो अवस्था, नेपाल–कोरिया सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो। द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक निर्देशनालयले जनाएको छ।

 

Page 7
समाचार

गाउँपालिकामै ६० कर्मचारी

स्थानीय तहको सांगठनिक संरचनाको ढाँचा
- राजेश मिश्र

काठमाडौं– अब साना गाउँपालिकामै पनि कम्तीमा ६० कर्मचारी हुनेछन्। त्यसबाहेक दैनिक सेवा प्रवाहका लागि प्रत्येक वडा कार्यालयमा न्यूनतम ४ कर्मचारी रहनेछन्। २० हजारभन्दा बढी जनसंख्या रहेका गाउँपालिकामा भने न्यूनतम ७० र वडा कार्यालयमा ४ कर्मचारीको व्यवस्था हुनेछ।
स्थानीय तह कति अधिकारसम्पन्न र वजनदार छन् भन्ने यसले देखाउँछ। विगतमा गाविसमा नायब सुब्बा वा खरिदारको नेतृत्वमा अति थोरै कर्मचारी रहने गर्थे। संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएपछि त्यसको कार्यान्वयनका लागि ठूलो संख्यामा कर्मचारी आवश्यक पर्ने भएको हो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले संविधानले दिएका अधिकार कार्यान्वयनका लागि स्थानीय तहलाई चाहिने न्यूनतम कर्मचारी तथा सांगठनिक संरचनाको नमुना ढाँचा तयार पारेको छ। प्रस्तावित ढाँचामा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई आवश्यक पर्ने विभाग/महाशाखा/शाखा तथा आवश्यक पर्ने न्यूनतम कर्मचारी दरबन्दीको समेत पहिचान गरिएको छ।
मन्त्रालयका प्रवक्ता सहसचिव रुद्रसिंह तामाङले स्थानीय तहलाई सहयोग पुग्ने उद्देश्यले आवश्यक कर्मचारीको विवरणसहितको सांगठिनक संरचनाको नमुना प्रस्ताव तयार पारिएको बताए। उनले अधिकारअनुसारको बजेट, योजना, साधन तथा कर्मचारी क्रमश: स्थानीय तहमा सरकारले पठाउन लागिरहेका बेला त्यसलाई तत्कालै व्यवस्थित पार्न सकियोस् भन्ने उद्देश्यले कर्मचारी तहको सांगठनिक संरचना प्रस्ताव गरिएको जानकारी दिए।
आवश्यक निर्णय प्रक्रिया पुर्‍याएपछि उक्त प्रस्तावित संरचनालाई स्थानीय तहमा पठाइने उनले बताए। ‘मन्त्रालयले संविधानले दिएको अधिकार र त्यसको विस्तृतीकरण स्थानीय तहले गर्नुपर्ने क्रियाकलापको पहिचानलाई अध्ययन गरी त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने संरचनाको नमुना तयार गरेको हो,’ उनले भने, ‘गाउँपालिका तथा नगरपालिकाले त्यसलाई आफ्नो आवश्यकताअनुसार फेरबदल वा थपघट गरी प्रयोगमा ल्याउन सक्छन्।’ मन्त्रालयले गाउँपालिकामा शाखा अधिकृत कार्यकारी अधिकृत रहने गरी त्यसको मातहतमा सामान्य प्रशासन, सहरी पूर्वाधार, सामाजिक विकास, योजना अनुगमन तथ्यांक, राजस्व तथा आर्थिक प्रशासन, आर्थिक विकास तथा आन्तरिक लेखा परीक्षण शाखा रहने प्रस्ताव गरेको छ। ती शाखामातहत उपशाखाहरू प्रस्तावित छन्। गाउँपालिकामा स्वास्थ्य, कृषि, पशुपक्षी, विद्युत्, सिभिल इन्जिनियरिङका प्राविधिक जनशक्तिदेखि शिक्षा, घरेलु, उद्योगजस्ता दर्जनांै विषयगत कर्मचारी रहनेछन्। यसअघि ती विषयका कार्यालय र कर्मचारी जिल्ला सदरमुकाम वा जिल्लाभित्र थोरै ठाउँमा मात्रै हुने गर्थे।
काठमाडौं महानगरपालिकाबाहेक नयाँ बनेका महानगरमा १० महाशाखा, १ शाखा र त्यसका लागि न्यूनतम १ सय ९० कर्मचारी आवश्यक पर्ने सांगठनिक संरचना तयार गरिएको छ। महानगरमा प्रस्तावित महाशाखाहरू सामान्य प्रशासन, सहरी पूर्वाधार विकास, सामाजिक विकास, योजना अनुगमन तथा वैदेशिक सहयोग, न्याय कानुन तथा मानव अधिकार प्रवद्र्धन, राजस्व तथा आर्थिक प्रशासन, आर्थिक विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन र खानेपानी तथा फोहोरमैला व्यवस्थापन छन्। आन्तरिक लेखा परीक्षण शाखासमेत राखिएको छ। महानगरमा कार्यकारी अधिकृत सहसचिव रहनेछन्। पुन:संरचनापछि ललितपुर, पोखरा, भरतपुर, वीरगन्ज र विराटनगर महानगर थपिएका छन्।
देशकै राजधानी रहेकाले बढी जनघनत्व रहेको काठमाडौं महानगरपालिकाको कार्यालयमा भने ३ सय ५० जनासम्म कर्मचारी आवश्यक पर्ने मन्त्रालयका सहसचिव तामाङले बताए। ‘काठमाडौं महानगरपालिकाले पहिले पनि विभिन्न विषयगत विभागको अभ्यास गरिररहेको छ,’ उनले भने, ‘प्रस्तावित ढाँचाअनुसार आवश्यक महसुस गरे काठमाडौंले विभागहरू थपघट गर्न सक्छ।’ महानगरको वडा कार्यालयमा अधिकृतस्तरका कर्मचारीको नेतृत्वमा ८ जनासम्म कर्मचारीको प्रस्ताव छ। उपमहानगरपालिका तथा नगरपालिकहरूको हकमा महानगरजस्तै विषयगत ९ महाशाखा तथा आन्तरिक लेखा परीक्षण शाखाको प्रस्ताव छ। उपमहानगरमा १ सय ६०, काठमाडौं उपत्यकाभित्रका नगरपालिकामा १ सय ४० र अन्य नगरपालिकामा न्यूनतम १ सय १५ जना कर्मचारी आवश्यक पर्नेछ। प्रवक्ता तामाङले बढी जनघनत्व भएका स्थानमा महाशाखाभित्र बढी शाखाहरू र कम जनसंख्या भएका स्थानमा कम शाखाहरू राख्न सकिने बताए। त्यहीअनुसार उपत्यकाभित्र र बाहिरको हकमा कर्मचारी संख्या फरकफरक प्रस्ताव गरिएको उनले जानकारी दिए। स्थानीय तहमा प्रस्तावित सामाजिक विकास महाशाखा/शाखालाई बढी कर्मचारी प्रस्ताव गरिएको छ। उक्त महशाखाभित्र शिक्षा, खेलकुद, स्वास्थ्य, सरसफाइ, खाद्य सुरक्षा, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता, लैंगिक समानता तथा समावेशीकरण, गैरसरकारी संस्था तथा परिचालन नियमनजस्ता विषयगत शाखा/उपशाखा प्रस्तावित छन्।
मन्त्रालयले सबै महाशाखा र शाखाको भूमिका तोकिएको कार्यविभाजनको नमुना नियमावलीसमेत तयार पारेको छ। स्थानीय तहले आफ्नो सभाबाट त्यसमा थपघट गरी पारित गरेर कार्यान्वयनमा ल्याउन सक्नेछ।
प्रस्तावित खाकाअनुसार उपमहानगर र नगरपालिकाको वडा कार्यालयमा ६ जना कर्मचारी रहनेछन्। स्थानीय तह पुन:संरचना आयोगले वडा कार्यालयलाई सेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्न सरकारलाई सिफारिस गरेको थियो। स्थानीय तह शासनसम्बन्धी विधेयकमा वडा कार्यालयलाई सेवा प्रवाहका दृष्टिकोणले अधिकारसम्पन्न बनाउने प्रस्ताव गरेको छ। वडा कार्यालयलाई ३७ वटा विषयमा सिफारिस वा प्रमाणित गर्ने अधिकार तोकिएको छ। गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षदेखि महानगरपालिका प्रमुख/उपप्रमुखसम्मले आफ्नो निजी सचिवालयमा नायब सुब्बास्तरका कर्मचारी राख्न पाउने मन्त्रालयले तयार पारेको ढाँचामा उल्लेख छ।
स्थानीय तहमा प्रस्तावित कर्मचारी र त्यसको सांगठनिक संरचनामा शिक्षक, नगर प्रहरी, कम्प्युटर प्राविधिक, सवारी चालक, सरसफाइमा संलग्न हुने कर्मचारी जोडिएका छैनन्।

  • महानगरमा १० महाशाखा र शाखाहरूका लागि १९० देखि ३५० सम्म कर्मचारी आवश्यक
  • उपत्यकाभित्रका नगरपालिकामा डेढ सय कर्मचारी
समाचार

‘दुवै चुनाव एकैपटक गर्ने कि?’

काठमाडौं (कास)– सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गर्न सकिने/नसकिनेबारे निर्वाचन आयोगसँग परामर्श थालेको छ। आयोगले असोज मसान्तमा प्रदेश र मंसिर पहिलो साता प्रतिनिधिसभा निर्वाचन गर्नुपर्ने प्रस्ताव सरकारलाई राखिसकेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले एकैपटक दुवै निर्वाचनको सम्भावनाबारे छलफल चलाएका हुन्।
निर्वाचनका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा भइरहेको ढिलाइप्रति चिन्ता र चासो लिएर भेट्न पुगेका आयोग पदाधिकारीलाई प्रधानमन्त्रीको प्रस्ताव थियो, ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकैपटक गर्दा कस्तो हुन्छ?’ प्रत्युत्तरमा आयोग पदाधिकारीले राजनीतिक सहमति र सहज कानुनी व्यवस्थाले मात्रै त्यो सम्भव हुन सक्ने बताएका थिए। प्रतिनिधिसभाका लागि पनि एउटा मतपत्र र एउटा मतपेटिकाको व्यवस्था गर्न सकिए त्यस विषयमा छलफल गर्न सकिने आयोग पदाधिकारीको भनाइ थियो। ‘प्रत्यक्ष र समानुपातिकका लागि एउटै मतपत्र प्रयोग गर्ने, प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मतलाई नै पार्टीले पाएको मत मानी त्यसअनुसार समानुपातिक सिट निर्धारण गर्ने कानुनी व्यवस्था हुन सक्यो भने मात्रै एकैपटक निर्वाचन सहज हुन सक्छ,’ आयुक्त ईश्वरी पौडेलले कान्तिपुरसँग भने, ‘त्यसका लागि राजनीतिक सहमति र कानुनमा संशोधन आवश्यक हुन्छ।’ एकैपटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि एउटा मतपत्र, एउटा मतपेटिका तथा प्रदेशसभाका लागि फरक मतपत्र र मतपेटिका राख्नुपर्ने आयोगको प्रस्ताव छ। ‘एकैपटक निर्वाचन गर्ने विषयमा छलफल भएको हो तर कुनै निष्कर्षमा भने पुगिएको छैन,’ पौडेलले भने। अहिलेको कानुनअनुसार प्रत्यक्ष र समानुपातिकतर्फ छुट्टाछुट्टै मतपत्र र मतपेटिका राख्नुपर्ने प्रावधान छ। विगतका दुई संविधानसभा निर्वाचनमा एक मतदाताले दुईवटा मतपत्रको अभ्यास गरिसकेका छन्। दुवै निर्वाचन एकैपटक गर्दा अहिलेको कानुनअनुसार एक मतदाताले ४ वटा मतपत्र र ४ मतपेटिका प्रयोग गर्नुपर्ने स्थिति रहन्छ जुन झन्झटिलो र बढी समय लाग्ने हुन्छ। प्रधानमन्त्री देउवाले खर्चका हिसाबले पनि एकैपटकको निर्वाचन उपयुक्त हुने भएकाले त्यस विषयमा विचार गर्न आयोगलाई आग्रह गरेका थिए। भेटमा भोटिङ मेसिनको प्रयोगबारे सामान्य छलफल भए पनि कुनै निष्कर्ष भने निस्केको छैन। आयोग पदाधिकारीले फास्टट्रयाकबाट प्रतिनिधिसभा र प्रदेशसभासम्बन्धी निर्वाचन कानुन संसद्बाट पारित गराई उपलब्ध गराउन आग्रह गरेका थिए। आयोगले सरकारलाई असार मसान्तभित्र कानुन तथा साउन १५ भित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारलाई दिएको समयसीमा गुज्रिन लागेको छ। ‘क्षेत्र निर्धारण आयोगले भर्खरै काम थालेकाले त्यसको प्रतिवेदन आउन केही समय लाग्ला तर ऐन नआएर पनि काममा बाधा पुगेको छ,’ आयुक्त पौडेलले भने, ‘ऐन आए त्यसलाई टेकेर आयोगले आवश्यक नियमावली र निर्देशिकाहरू बनाउनुपर्ने हुन्छ। त्यसमा ढिला भइरहेको छ।’

समाचार

थिंक ट्यांकलाई पुरानै बजेट

- चन्द्रशेखर अधिकारी

काठमाडौं– परराष्ट्र मामिलामा सरकारको थिंक ट्यांक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) को स्तरोन्नति र सबलीकरण गर्ने भनिए पनि सरकारले फेरि पुरानै बजेट पठाएको छ। आईएफएलाई दिइने बजेटले कर्मचारीको तलब मात्रै पुग्ने तर अध्ययन, अनुसन्धान र अन्तरक्रियाका लागि स्रोत अभाव भएको आवाज उठिरहे पनि सरकारले चासो नदिई पुरानै बजेट पठाएको हो। सरकारले आईएफएलाई ३ वर्षदेखि ७२ लाख रुपैयाँको बजेट दिँदै आएको छ। अघिल्लो वर्षको बजेटमा सरकारले कर्मचारीको पारिश्रमिक बढाएपछि दुई वर्षदेखि बढेको पारिश्रमिक थपेर बजेट माग गरिए पनि परराष्ट्रले बेवास्ता गरेको हो। आईएफएका कार्यकारी निर्देशक प्राध्यापक पन्नाकाजी अमात्य पटक–पटक आफंै मन्त्रालय गएर सहसचिव/उपसचिवस्तरका कर्मचारीसँग ‘साहुजीकामा ऋण मागेझैं’ उभिनुपरेको आईएफएका एक कर्मचारी बताउँछन्। त्यस्तो आग्रहलाई परराष्ट्रले कार्यशैलीमाथि प्रश्न गर्दै बेवास्ता गरिरहेको छ। ‘यो बजेटबाट काम गर्न सकिने अवस्था नै छैन,’ कार्यकारी निर्देशक अमात्यले कान्तिपुरसँग भने, ‘बजेट चाहियो भन्दै हामी उनीहरूसँग सधंै हात जोड्न जान पनि सकिँदैन। पटक–पटक योजना बनाएर पठाएका छौं। छलफल पनि गरेका हौं।’ छलफलमा सधैं बजेट बढाउने सहमति भए पनि व्यवहारमा कहिल्यै नभएको उनले बताए।
परराष्ट्र सेवामा आउने नयाँ अधिकृत/नायब सुब्बालाई प्रशिक्षण दिने, समसामयिक विषयमा अन्तरक्रिया गराउने र नवनियुक्त राजदूतसँग सामूहिक अन्तरक्रिया गराउने सामान्य काम भने आईएफएले गर्दै आएको छ। ‘त्यति बजेटबाट उनीहरूसहित १३ कर्मचारीलाई तलब खुवाउन, प्रशासनिक काम, साधारण खर्च चलाउन हम्मे पर्छ। अन्य स्रोत छैन,’ अमात्यले भने। सरकारी थिंक ट्यांक भएकाले वैदेशिक सहयोग नलिने नीतिगत निर्णय र सरकारले कर्मचारी पालिने र दैनिकी चलाउने बजेट मात्र दिएपछि काम कत्ति अघि बढ्न नसकेको आईएफएका अधिकारीहरू बताउँछन्। ‘बजेट नै दिन नसक्ने र कर्मचारी मात्र पाल्ने हो भने यसलाई बन्द गर्दा हुन्छ,’ एक अधिकारीले भने, ‘परराष्ट्रको यो साँघुरो र सबै आफंैले मात्र जानेको छु भन्ने सोचबाट थिंक ट्यांक चल्दैन।’ कर्मचारीको दुई वर्षअघि बढेको पारिश्रमिकअनुसार मात्र बजेट वृद्धि हुँदा पनि अघिल्ला वर्षको जति काम हुन सक्ने उनीहरूको धारणा छ। तर, परराष्ट्र मन्त्रालयले आईएफएलाई हेर्ने दृष्टिकोण नै संकुचित रहेकाले त्यसअनुरूप बजेट नआएको भन्दै उनीहरू आक्रोशित छन्। ‘हामी अध्ययनमा लगानी नै गर्दैनांै। सुधार गर्ने भन्दै पटक–पटक आफ्ना निकटलाई व्यस्त राख्न केही रकम दिन कार्यदल बनाउँछौं। तर आएको प्रतिवेदनमा काम गर्दैनांै,’ अर्का अधिकारीले भने। कर्मचारीलाई मासिक पारिश्रमिक र गाडी खर्चमा नै आईएफएको सबै रकम सकिनेछ। अहिले आईएफएमा कार्यालय सहयोगीसहित १३ कर्मचारी, एक सुरक्षा गार्ड र दुई सवारी साधन छन्।
सरकारले दिने गरेको ७२ लाखमा ५२ लाख रुपैयाँ कर्मचारीको पारिश्रमिकमै जाने गरेको छ। बैठक भत्ता, गाडी खर्च, अन्य मसलन्द, कार्यालय मर्मत, खानेपानी, बत्ती, इन्टरनेटलगायत खर्चसमेत गर्दा सरकारले दिने बजेट सकिन्छ। तर, परराष्ट्र मन्त्रालयका एक अधिकृत विदेशस्थित नियोगमा थप गर्दा उसका लागि मात्रै सरकारले वार्षिक एक करोड खर्च गर्ने गरेको छ। सरकारले नियोगहरूमा अधिकृतको पद पनि थपिरहेको हुन्छ तर त्यही क्षेत्र बलियो बनाउन बहस गर्ने थलोमा बजेट उपलब्ध गराउन भने सरकारले बेवास्ता गर्दै आएको छ।
अर्थले परराष्ट्रलाई दिने वार्षिक बजेटमा परराष्ट्रले गर्ने आन्तरिक बाँडफाँडअन्तर्गत नै आईएफएको बजेट निर्धारण हुने गर्छ। यो विकास समितिअन्तर्गत रहेको भनिए पनि कूटनीतिक मामिलाको विषय भन्दै परराष्ट्रले आफूअन्तर्गत नै राख्दै आएको छ। परराष्ट्र मन्त्रालयबाट आईएफए सुधारका लागि पटकपटक कार्यदल बन्ने गरेको छ। ‘मन्त्रालयको यस्तो हेराइले संस्थालाई माथि लैजान सहज छैन,’ आईएफएकी उपमहानिर्देशक इन्द्र अधिकारीले भनिन्, ‘कार्यक्रम गर्न बजेट चाहिन्छ। रिसर्च पनि बिनाबजेट हुँदैन, यसमा सोच फराकिलो पार्न आवश्यक छ।’ हरेक मन्त्री आएपिच्छे कार्यदल बन्ने तर त्यसले दिने प्रतिवेदन थन्किने गरेको छ। अघिल्लो सरकारले पनि पूर्वसचिव डा. दिनेश भट्टराईको संयोजकत्वमा कार्यदल बनायो। कार्यदलले तोकिएको समयभन्दा निकै अघि प्रतिवेदन मन्त्रालयलाई बुझायो। डा. भट्टराईले प्रतिवेदन प्रस्तुतिका क्रममा सुझावअनुसार काम भए आईएफए साँच्चै थिंक ट्यांक बन्ने समेत बताएका थिए। ‘कार्यदलका केहीले भत्तासमेत लिए। अधिकांश बैठक कार्यालय समयमै भएको थियो। तर, सबैभन्दा पहिले परराष्ट्रकैले भत्ता बुझे, त्यो पनि आईएफएको वार्षिक बजेटबाटै,’ आईएफए स्रोतले भन्यो, ‘कार्यदलका संयोजक र केही सदस्यले भने आईएफएको अवस्था देखेर अझै भत्ता लिएका छैनन्।’
कार्यदलको प्रतिवेदन सामान्य प्रशासन र कानुन मन्त्रालयमा पुगेर सुझावसहित फर्किइसकेको छ। अर्थमा पनि बजेटका लागि छुट्टै प्रस्ताव गएको भए पनि परराष्ट्रले खासै चासो नदिएको आईएफएका अधिकारीहरू बताउँछन्। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पत्रकारसँगको अन्तरक्रियामा आईएफएबारे अध्ययन गरेर सुधारका पक्षमा जाने बताएका थिए। परराष्ट्रले यसपटक पनि अघिल्ला परराष्ट्रमन्त्री र हालका सचिवलाई सम्मान गर्ने संस्थाहरूलाई बजेट छुट्याएको छ। तर आईएफएलाई पुरानै दर्जामा राखेकामा केही परराष्ट्र अधिकारीसमेत असन्तुष्ट छन्। परराष्ट्र मन्त्रालयको क्षमता अभिवृद्धि, सबलीकरण तथा कूटनीतिक बहस गर्ने थलोका रूपमा गठित आईएफए पछिल्लो समय मन्त्रालयकै चेपुवामा पर्ने गरेको छ भने नियुक्तिमा राजनीतिक प्रभाव रहने गरेको छ। परराष्ट्र मन्त्रालयको असहयोग र आर्थिक अभावका कारण बेहाल बन्दै गएको उक्त निकायले व्यक्तिगत पहलमा केही टहरा भवन विभागमार्फत बनाएर कार्यालय र बहस गर्ने हल बनाएको छ। दुई वर्षअघि भूकम्पले पुरानो भवनसमेत भत्किएपछि आईएफए थप बेहालको अवस्थामा पुगेको छ। तर यसलाई उकास्न यसअघिका परराष्ट्रमन्त्रीहरूले चासो देखाएनन्। हुन त, आईएफएको भवन बनाउने विषय ७ वर्षदेखि चर्चामा रहे पनि यसले मूर्तरूप पाउन सकेको छैन। २०५० सालमै परराष्ट्रको अध्ययन अनुसन्धान विङका रूपमा स्थापना भएको प्रतिष्ठानलाई २०५४ देखि स्वायत्त निकाय बनाइएको हो। यसको पछिल्लो गठन आदेश २०६८ ले बोर्ड सदस्यको योग्यतादेखि कार्यकारी प्रमुखको योग्यता र कामको प्रकारसमेत तोकेको छ। यो विकास समितिअन्तर्गत रहनुपर्ने भए पनि त्यसतर्फ कुनै चासो छैन।

समाचार

संसदीय समितिको निर्देशन

- होम कार्की

काठमाडौं– संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी तथा मलेसियास्थित नेपाली राजदूतलाई बोलाएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको अवस्था बुझ्न बिहीबार सरकारलाई निर्देशन दिएको छ।
समितिको बैठकमा सांसदहरूले खाडीमा पछिल्लो समय देखिएको कूटनीतिक संकटले नेपालीको रोजगारीमा असर पर्न सक्नुका साथै ती देशमा गएका कामदारको अवस्था दयनीय भएको बताएपछि बैठकले यस्तो निर्णय गरेको हो। बैठकले राजदूतहरूको उपस्थितिमा वैदेशिक रोजगार सम्मेलन गरी ठोस निष्कर्ष निकाल्ने निर्णय गरेको हो।
समितिले नेपाली कामदार बढी रहेका देशका नेपाली दूतावासमा नेपाली श्रमिकको नियमन संयन्त्र निर्माण गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन पनि दिएको छ। यस्तै, घरेलु काममा जाने कामदारलाई वैध र कानुनी ढंगले पठाउन स्रोत र गन्तव्य देशबीच श्रम सम्झौता गर्ने प्रक्रिया पुन: अगाडि बढाउनसमेत बैठकले सरकारलाई निर्देशन दिएको छ। समितिले नै श्रम सम्झौता गरेर मात्रै पठाउनुपर्ने अडान राखेपछि घरेलु कामदार निर्देशिकाअनुसार कामदार पठाउने कार्य पनि रोकिएको थियो। ‘श्रम सम्झौता गर्ने प्रक्रियालाई छिटो निष्कर्षमा पुर्‍याई कार्यान्वयनमा लैजान श्रम र परराष्ट्र मन्त्रालयलाई पुन: निर्देशन दिइएको छ,’ निर्णयमा भनिएको छ।
बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा र श्रममन्त्री फरमुल्लाह मन्सुरले नेपाली कामदारको हित र सुरक्षाका लागि काम भइरहेको भन्दै सरकारको बचाउ गरेका थिए। सांसदहरूले सरकारबाट कामदारमाथि शोषण र ठगी चरम रूपमा हँुदा पनि सरकारी निकाय मौन रहेको भन्दै ती मन्त्रालयको आलोचना गरेका थिए।
गृहमन्त्री जनार्दन शर्माले ठग म्यानपावर र दलाललाई कारबाही गर्न स्पेसल प्रहरीको फोर्स बनाउनेतर्फ मन्त्रालयले काम अगाडि बढाइरहेको बताए। ‘डुबेको पैसा फिर्ता नपाउँदा धेरै घरबारविहीन भए। ठगहरूलाई कारबाही गर्न विशेष ब्युरो गठन गर्ने तयारीमा छौं,’ उनले भने। मन्त्रीहरूले आपसी तालमेलको अभाव रहेको बताएपछि समितिले ती निकायका सफ्टवेयर जोडी एकीकृत संयन्त्र बनाएर उद्धार गर्न निर्देशन दिएको छ। समितिले वैदेशिक रोजगारीका क्षेत्र सुधार निम्ति यसअघि भएका निर्णय कार्यान्वयनमा नआएको भन्दै ती मन्त्रालयहरूको ध्यानाकर्षण गराएको छ। समितिले विगतमा भएका निर्णय स्मरण गराउँदै वैदेशिक रोजगार ऐनलाई परिमार्जन गरी समसामयिक बनाउनसमेत निर्देशन दिएको छ। श्रमले ऐनलाई परिमार्जन गर्न भन्दै बनाएको मस्यौदा त्यतिकै थन्किएर बसेको भन्दै सांसदहरूले ध्यानाकर्षण गराएका थिए।

 

 

समाचार

क्षेत्र निर्धारणमा राजनीतिक प्रभाव नपरोस् : एमाले

काठमाडौं (कास)– प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई राजनीतिक प्रभावमा नपरी काम गर्न ध्यानाकर्षण गराएको छ। एमाले स्थायी समितिको बिहीबारको बैठकमा क्षेत्र निर्धारणबारे छलफल भएको थियो। २४० बाट घटाएर १६५ वटा क्षेत्र निर्धारण गर्दा राजनीतिक प्रभाव पर्न सक्ने आशंका एमालेले गरेको हो। संविधानमा निर्वाचन क्षेत्र १ सय ६५ हुने उल्लेख छ। संविधानको कार्यादेशअनुसार क्षेत्र निर्धारण आयोगले हालको संख्या घटाउनुपर्नेछ।
सरकारले ढिलो गरी आयोग गठन गरे पनि अब तोकिएकै समयमा काम सक्न आयोगलाई एमालेले सुझाव दिएको छ। ‘संविधानअनुसार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नका लागि समय घर्किंदै छ, त्यसैले तोकिएकै समयमा आयोगले क्षेत्र निर्धारण गरोस् भन्ने हाम्रो भनाइ छ,’ बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले भने। सरकारले आयोगलाई २१ दिनको समय तोकेको छ। आयोगले प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र बराबर प्रदेशसभाका लागि दुइटा क्षेत्र निर्धारण गर्नुपर्नेछ। प्रदेश र प्रतिनिधिसभा दुवैको क्षेत्र मिलाउनुपर्ने भएकाले २१ दिनको समयभित्र काम पूरा गर्न आयोगलाई चुनौती छ। तर क्षेत्र निर्धारणमै ढिलाइ भए संविधानले तोकेको समय सीमाभित्र निर्वाचन सम्पन्न गर्न गाह्रो हुने भएकाले त्यस परिस्थितिप्रति संवेदनशील हुन एमालेले आयोग पदाधिकारीको ध्यानाकर्षण गराएको हो। ‘सरकारले निकै ढिलो गरेर निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेकाले त्यससम्बन्धी काम निर्धारित समयमा सम्पन्न हुन नसकेर २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संविधानले तोकेको दायित्व पूरा नहुने हो कि भन्ने आशंका पैदा भएको छ,’ एमाले बैठकको निर्णयमा छ। एमालेले स्थानीय निर्वाचन सम्पन्न भएका जिल्लाहरूमा जिल्ला समन्वय समितिका लागि उम्मेदवार छनोट गर्ने प्रक्रियालाई पनि तीव्र बताएको छ। केन्द्रबाटै जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखमा पार्टीका तर्फबाट उम्मेदवार बन्ने व्यक्तिको नाम टुंग्याउन थालेको हो। कुन जिल्लामा कसलाई उम्मेदवार बनाउने भन्नेबारे बैठकमा छलफल भएको थियो।

Page 8
उपत्यका

आज नागपञ्चमी र रक्षाबन्धन

ललितपुर (कास)– हिन्दु धर्मावलम्बीहरूले शुक्रबार नागपञ्चमी र रक्षाबन्धन मनाउँदै छन्। प्रत्येक वर्ष श्रावण पूर्णिमा अर्थात् जनै पूर्णिमाको दिन उपाकर्म, ऋषितर्पणी, रक्षाबन्धन आदि कर्म गरिने भए पनि यसपालि उक्त पूर्णिमामा चन्द्रग्रहण परेकाले आज साउन शुक्ल पञ्चमीमै मनाउन लागिएको पञ्चांग निर्णायक समितिले जनाएको छ।समितिका पञ्चांगकार कीर्तिकिरण जोशीले यसपालि पूर्णिमाको दिनमा चन्द्रमामा खण्डग्रास ग्रहण देखिने हुनाले धर्मशास्त्रका आधारमा पञ्चांग निर्णायक समितिका धर्मशास्त्रीहरूको बैठकले नाग पञ्चमीमै रक्षाबन्धन पनि मनाउने निर्णय गरेको बताए। ‘पूर्णिमाको दिनमा ग्रहण वा संक्रान्ति परेमा स्वाध्याय, ऋषितर्पणी र रक्षाबन्धन गर्न नहुने मान्यता छ,’ उनले भने, ‘अन्य चाडपर्व भने पूर्णिमाकै दिनमा यथावत् रूपमा मनाउन सकिन्छ।’ रक्षाबन्धनका दिन बिहान सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँध्ने गरिन्छ। रक्षाबन्धन बाँध्दा दैत्यराज बलिको दानशील र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ।तागाधारीले पुरानो जनै फालेर अभिमन्त्रित गरिएको नयाँ जनै लगाउने गर्छन्। रक्षाबन्धनमा बाँधिएको धागो तिहारमा लक्ष्मीपूजाको दिन फुकालेर गाईको पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार हुन्छ भन्ने विश्वास छ। सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ।
तराईमा यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँधिदिन्छन्। नेवार समुदायले भने यो पर्व मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाइएको क्वाँटी खाएर मनाउँछन्।

उपत्यका

बढे विवाहेतर सम्बन्ध

- शिल्पा कर्ण

काठमाडौं– सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहुँचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ। प्रहरीअगाडि आउने घरझगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरूको भनाइ छ। कालीमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले छोराछोरीलाई स्याहारसुसार गर्न आवश्यक रकम पतिबाट तिराइपाउन केही दिनअघि उजुरी दिएकी थिइन्। कारण बुझ्दै जाँदा फेसबुक र फोनबाट श्रीमान्को पहिलेकी प्रेमिकासँग फेरि झाँगिएको सम्बन्धले दुवैबीचको दूरी बढाएको रहेछ। दिनहुँ झगडा र विवाद हुने मुख्य कारण त्यही रहेछ। प्रेमिका विवाहित
भए पनि भेट्ने, घुम्न जाने र परिवारलाई समय नदिएको श्रीमतीको आरोप थियो। धादिङ घर भएका एक पुरुष विदेश गए। नेपालकै एक महिलासँग फेसबुकमा चिनजान भयो, अन्तरंग कुराकानी, भिडियो च्याटसमेत हुन थाल्यो। एक वर्ष यसैगरी बितेपछि उनी नेपाल फर्किए। ती युवतीसँग विवाह गर्ने वाचा गरेका ती पुरुष छाँगाबाट खसेझैं भए जब ती युवतीले केही अघि मात्र आफ्नो श्रीमान्सँग सम्बन्धविच्छेद गरेको थाहा पाए। काठमाडौं आएपछि उनको अन्य पुरुषसँग सम्बन्धका कारण श्रीमान्सँग सम्बन्ध विच्छेद भएको थाहा पाएपछि उनले विवाह गर्न मानेनन्। उनले विवाह गर्न नमान्दा उक्त महिला उजुरीसहित क्षतिपूर्तिको माग गर्दै प्रहरीमा पुगिन्। प्रहरीको महिला सेलमा आजकल विवाहेतर सम्बन्धका कारणले घरायसी झगडा बढेको उजुरी बढी आउने गरेको प्रहरी बताउँछन्। अधिकांश महिलामाथि श्रीमान् वैदेशिक रोजगारीमा गएपछि अर्को सम्बन्ध बनाएको उजुरी पर्ने गरेको छ। केही घटनामा भने सामाजिक सञ्जालमार्फत भएको मित्रतालाई शंका गरेर प्रहरीअगाडि पुग्ने दम्पती पनि छन्। अधिकांश घरायसी झगडामा प्रहरीले मिलापत्र गराउन खोज्ने र नमाने मुद्दाको प्रक्रिया अगाडि बढाउने गर्छ। कालीमाटी महिला सेल इन्चार्ज प्रहरी निरीक्षक सुरक्षा केसीले भनिन्, ‘दिनहुँ पतिपत्नीबीचको झगडा १० भन्दा बढी आउँछन्, जसमा हिजोआज प्रमुख कारण विवाहपछिको सम्बन्ध नै हुने गरेको छ।’ यस्ता घटनामध्ये धेरैलाई घरायसी झगडासम्म मात्र सीमित हुन्छ भने केही घरेलु हिंसासम्म निम्त्याउँछ।घरेलु हिंसाका कतिपय घटनाको पछाडि पनि विवाहपछिका सम्बन्ध हुने गरेको महिला सेलका प्रहरीको भनाइ छ। यस्ता सम्बन्ध बनाउनेमा महिला र पुरुष दुवैको संख्या उत्तिकै रहे पनि पुरुषहरू सम्पत्ति लिएर महिला गएपछि मात्र प्रहरीअगाडि आउने गर्छन्। कतिपय घटनामा छोराछोरी भएका आमाबुवाले समेत अन्यत्र सम्बन्ध स्थापित गरेकाले विवाद प्रहरीसम्म आइपुग्छ। प्राय: ३०/४० उमेरसमूहका दम्पतीबीच विवादका घटना बढी आउने केसीको अनुभव छ।
प्राय: विवाहेतर सम्बन्धका उजुरीमा पुरुष आरोपित भए पनि महिलामाथि परपुरुषसँग सम्बन्ध रहेको उजुरी पनि महिला सेलमा पर्ने गरेको छ। मागी विवाह वा प्रेम विवाह दुवैमा यस्ता घटना देखिएको प्रहरीहरू बताउँछन्। गत आर्थिक वर्षमा महिला सेल कालीमाटीमा आएका ८ सय ६१ उजुरीमध्ये ५ सय ८४ फछ्र्योट अर्थात् मिलापत्र भइसकेका छन्।
तथ्यांकअनुसार महिला सेलमा बहुविवाहसम्बन्धी मुद्दा दर्ता हुने क्रम वर्षैपिच्छे बढिरहेको छ। काठमाडौं जिल्लामा २०७०/७१ र ७१/७२ मा बहुविवाहको मुद्दा संख्या ४४ र ५३ छ। कालीमाटी महिला सेलले ७२/७३ मा ५२ वटा बहुविवाहका मुद्दा दायर गरेको छ। वर्ष २०६९/७० र ७०/७१ मा उपत्यकामा बहुविवाहका क्रमश: ४६ र ६३ मुद्दा दर्ता गरिएको तथ्यांक छ। ७१/७२ मा यो संख्या बढेर ७५ भएको छ। यसपछि भने केही घटेर ६४ पुगेको छ।

उपत्यका

‘आश्वासन पाइयो, पाइएन राहत’

- कान्तिपुर संवाददाता

भक्तपुर– विनाशकारी भूकम्पमा २२ घण्टापछि जीवित उद्धार गरिएका भक्तपुर नगरपालिका कमलविनायकका सोनिस अवाललाई धेरैले चिन्यो। सामाजिक सञ्जाललगायत अन्य मिडियामा उनको परिवारले भूकम्पपीडित भए पनि सरकारबाट प्रदान गरिएको पीडित परिचयपत्र र राहत रकम नपाएको विषयको चर्चा पनि चुलियो। सोनिसको बारेमा धेरै सञ्चार माध्यमले अन्तर्वार्ता लिए। वृत्तचित्र बनाए। ‘संसारले भूकम्पपीडित भनेर चिन्यो, सरकारले चिनेन,’ सोनिसकी आमा रश्मिलाले भनिन्।
२०७३ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग रश्मिलाको भेटवार्ता भयो। ओलीले एक साताभित्र सोनिसको परिवारलाई जग्गा र बसोबासको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई निर्देशन दिए। तर, सोनिसको परिवारले न त कुनै राहत पाए न त कसैले बसोबासको व्यवस्था नै गरिदिए। ‘प्रधानमन्त्रीले नै आश्वासन दिएकाले केही राहत पाइन्छ कि भन्ने आशा र विश्वास पलाएको थियो,’ रश्मिलाले भनिन्, ‘प्रधानमन्त्रीले निर्देशन दिएको केही दिनपछि जिल्ला प्रशासनबाट एकपटक अनुगमन गर्न आएका थिए, त्यसपछि कोही फर्केर आएन।’ प्रधानमन्त्रीले आश्वासन दिएर त्यो पूरा नगरेकाले आत्मा मारेको जस्तो महसुस भएको उनी बताउँछिन्। उनको चार जनाको परिवार भक्तपुर नगरपालिका महाकालीस्थानस्थित डेरामा छन्। ‘आफ्नो जग्गा भएको भए जस्ताको टहरो भए पनि बनाएर बस्थ्यौं,’ उनले भनिन्, ‘अब त सुकुम्बासी भइसक्यौं, भाडा तिर्न पनि मुस्किल भइसक्यो।’ सोनिसको पढाइका लागि सेनाले नि:शुल्क पढाइको व्यवस्था गरिदिने भएको छ। तर, पढाइभन्दा पनि अहिले बासको चिन्ता छ। भूकम्पअघि बसोबास गर्दै आएको बहुस्वामित्वको लालपुर्जाविहीन जग्गा पनि सडकको मापदण्डमा परेकाले घर बनाउन समस्या परेको उनले बताइन्। ‘लालपुर्जा नभएपछि सडकको मापदण्डमा परेको जग्गाको मुआब्जा पनि नआउने रहेछ,’ उनले गुनासो गरिन्।भक्तपुर नगरपालिका भेलुखेलस्थित द्यौलाबस्तीका लालपुर्जाविहीन ८२ घरमध्ये ०७२ वैशाख भूकम्पको धक्काले ५२ घर पूर्णरूपमा क्षतिग्रस्त भयो। घरजग्गाको लालपुर्जा नभएकै कारण सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएको कुनै पनि राहत पाउन नसकेको उनीहरूको गुनासो छ। ‘भूकम्पले हाम्रो बस्ती नै तहसनहस बनायो तर भूकम्प गएको करिब २७ महिना बितिसक्दासम्म भूकम्पपीडितको परिचयपत्र पाएका छैनौं,’ स्थानीय देवी द्यौलाले भनिन्, ‘भूकम्प पीडितको परिचयपत्र बनाइदिन नगरपालिकामा सयौंपल्ट धायौं, केही पहल भएन।’ ‘घरजग्गाको लालपुर्जा नहुँदा पीडित परिचयपत्रसम्म पाएनौं, अनुदान कसरी पाउनु?’ उनले प्रतिप्रश्न गरिन्।
द्यौला बस्तीका बासिन्दाले लालपुर्जा नहुँदा घर बनाउँदा नक्सा पाससमेत नहुने हुँदा घर बनाउने योजना अलपत्र परेको द्यौला बस्तीका भूकम्पपीडितको गुनासो छ। जग्गाको लालपुर्जाका लागि करिब २० वर्षदेखि मालपोत, नगरपालिकादेखि मन्त्रालयसम्म धाउँदासमेत आश्वासन मात्र पाएको तर लालपुर्जा नदिएको स्थानीय चरण द्यौलाले बताए। ‘२०२१ मा नापी आउँदा जग्गा अधिग्रहण गर्न आएको हल्ला चलाएपछि यहाँका अशिक्षित बासिन्दाले बस्दै आएको घरजग्गा पनि आफ्नो हो भन्न सकेनन्,’ उनले भने, ‘हाम्रो घर, हाम्रो बस्ती भन्ने सबैलाई थाहा छ, पुन: नापी गरेर लालपुर्जा दिलाइदिन पटकपटक सबै निकायमा पुगिसक्यौं, हालसम्म केही पहल भएन।’ उनले लालपुर्जा नहुँदा सरकारी सेवाबाट वञ्चित हुनुपरेको दुखेसो पोखे। द्यौला बस्तीका कतिपय भूकम्पपीडितले नक्सापासै नगरी आफूखुसी रूपमा क्षतिग्रस्त घरको पुनर्निर्माण थालेका छन्।

उपत्यका

उपचारमा सहयोग

- कान्तिपुर संवाददाता

काठमाडौं– ‘केअर गिभर’ को रूपमा इजरायलमा कार्यरत नेपालीले १० वर्षीया बालिकाको ब्रेन ट्युमरको उपचारका लागि १ लाख ८० हजार रुपैयाँ जुटाएर उपलब्ध गराएका छन्। उनीहरूकै संलग्नतामा खुलेको ‘सहयोगी मनहरूको समाज’–काठमाडौं मार्फत उक्त रकम बालिकाको परिवारलाई उपलब्ध गराउँदै उपचारमा सहयोगी बनेका हुन्।
जाजरकोटको त्रिवेणी नालगड नगरपालिका ५ बस्ने लक्ष्मणकुमार सिंह र पुनमकी १० वर्षीया छोरीको ब्रेन ट्युमरको उपचारका लागि खर्च अभाव भएको समाचार आएपछि सोही संस्थाका संस्थापक इन्दिरा कार्कीको सक्रियतामा रकम उठाएको उनले विज्ञप्ति जारी गर्दै जनाएकी छन्। उपचाररत बालिकाका बुवा सिंहको बैंकखातामा रकम जम्मा गरेको भौचर बुधबार हस्तान्तरण गरेका हुन्। संस्थाका अध्यक्ष कृष्ण ज्ञवालीले यो संस्थाले साँच्चै पीडित रहेका र आर्थिक स्रोत नभएकाहरूलाई उपचारमा सहयोग पुर्‍याउँदै आएको बताए।
अन्नपूर्ण न्युरोका डा. वसन्त पन्तले उनको सफल उपचार गरेपछि बालिकाका परिवारलाई सहयोग गरेको रकमको भौचर हस्तान्तरण गरिएको ज्ञवालीले बताए। इजरायलमा परिश्रम गरी कमाएको रकमबाट आफ्नी छोरीको ज्यान जोगाउन सहयोग पुर्‍याएको भन्दै बिरामी बालिकाका पिता सिंहले उनीहरूप्रति आभार व्यक्त गरे। उपचार हुने क्रममा नै रकम उपलब्ध गराएको भए पनि उपचार सफल भएपछि मात्र परिवारलाई भौचर हस्तान्तरण गरिएको हो। ज्ञवाली इजरायलमा लामो समय काम गरेर केही समयअघि स्वदेश फिरेका हुन्। उनले अर्का क्यान्सर पीडितका लागि सहयोगस्वरूप एक लाख ४० हजार रुपैयाँ जम्मा भइसकेको बताए। क्यान्सरपीडित दुर्गामाया ठकुरीले खर्च अभावमा उपचार गर्न नसकेको जानकारी प्राप्त भएपछि उनलाई तत्काल औषधोपचार गर्न १० हजार रुपैयाँ सहयोग गरिएको र बाँकी रकम शुक्रबार उपलब्ध गराइने ज्ञवालीले बताए।

उपत्यका

उपचारका लागि बिदेसिने स्थिति अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

- कान्तिपुर संवाददाता
वीर अस्पतालको १२८ औं वार्षिकोत्सवमा बिहीबार स्मारिका विमोचन गर्दै प्रधानमन्त्री देउवा। साथमा स्वास्थ्यमन्त्री पोखरेल। तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौं (कास)– प्रधानमन्त्री शेरबहादुर देउवाले बिरामी भएर उपचारका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्। देउवाले वीर अस्पतालको १ सय २८ औं वार्षिकोत्सवमा बोल्दै मुलुकमै उच्च स्वास्थ्य सेवा दिने प्रयास गर्नुपर्ने बताए। उनले यस्तो प्रयास वीर अस्पतालबाट गर्नुपर्ने समेत उल्लेख गरे। चालु आर्थिक वर्षमा वीरको भौतिक विकासमा थपिने पूर्वाधारहरूले सेवा प्रवाहलाई अझ व्यापक बनाउने समेत उनले जनाए। सरकारी स्वास्थ्य प्रणालीलाई बलियो पार्नुपर्ने आवश्यकता औंल्याउँदै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले रोग लाग्दा अर्को देश जानु नपर्ने अवस्था बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताए। मुलुकको स्वास्थ्य नीतिको प्रतिबिम्ब हेर्ने ठाउँ वीर अस्पताल रहेको औंल्याउँदै पोखरेलले स्वास्थ्य सेवामा सुधारका लागि जनशक्ति, औषधि, उपकरण, पूर्वाधार र स्थानीय समुदायको अपनत्व चाहिने समेत जनाए। कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले वीर, शिक्षण लगायतका सरकारी अस्पतालमा सेवा उपलब्ध नभएर बाध्यतावश महँगा निजी अस्पतालमा सेवा किन्नुपरिरहेको बताए। अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले अस्पतालमा विशेषज्ञ चिकित्सक लगायतका अन्य प्राविधिक जनशक्तिमा उल्लेख्य वृद्घि गर्नुपर्ने बताए। उनले बाल, प्रसूति, मानसिक र आँखा सम्बन्धी सेवा थप गरेर सञ्चालन हुन सरकारबाट पहल हुनुपर्ने बताए। वि.सं. १९४७ सालमा १५ शय्याबाट सुरु भएको वीर अस्पतालमा अहिले ४ सय ६० शय्या छन्। गत आर्थिक वर्षमा बहिरंग विभागबाट यो अस्पतालमा करिब तीन लाख ८५ हजारले स्वास्थ्य सुविधा लिएको अस्पतालको तथ्यांक छ। सन् १९३३ मा मुलुककै पहिलो चिकित्सा शिक्षा दिने सिभिल मेडिकल स्कुलको प्रारम्भसमेत यहींबाट भएको थियो। यस अन्तर्गत कम्पाउन्डर, ड्रेसर र पछि नर्सिङ शिक्षा सुरु भएको थियो। सन् १९८७ मा बेलायतको एफआरसीएस, एमआरसीपी र एमआरसीओजीको दक्षिण एसियाको केन्द्रसमेत वीरमै रहेको थियो। सन् १९९४ मा पीजीएमईसीसीबाट एमडी/एमएसको तालिम समेत वीरबाटै सुरु भएको हो। हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत यहाँ एमडी/एमएस/ एमडीएस/डीएम/एमसीएच को तालिम समेत हुने गरेको छ।

Page 9
देश

गोदाममा सड्दै अनुदानको चामल

- राजबहादुर शाही
मुगुको गमगढीस्थित नेपाल खाद्य संस्थानको गोदाममा बिक्री नभई थन्किएको चामल । तस्बिर : राजबहादुर/कान्तिपुर

मुगु– पिना मुन्दु गाउँकी धनदेवी बोहराले खाद्य संस्थानको गोदामबाट ३० किलो चामल ल्याइन्। कार्कीबाडा ढुम गाउँकी हरिनी विकले पनि ३० किलो चामल बोकिन्, त्यो पनि रोजीछाडी। विगत वर्षमा जस्तो घण्टौं लाइन बस्दा पनि चामल नपाइने अवस्था अहिले छैन। स्थानीयले चाहेकै बेलामा पर्याप्त
चामल पाउँछन्। संस्थानको गोदाम भरिभराउ छ।‘पहिले ५ किलो चामल लिन दिनभर लाइनमा बस्नुपथ्र्यो,’ बोहराले भनिन्, ‘अहिले रोजीछानी पाउने गरेका छौं।’ कुनै बेला एकै दिन ५ सय जनासम्मको भीड थेगेका कर्मचारी हिजोआज मुस्किलले १० जनासम्म आउने गरेको बताउँछन्। कर्मचारीका अनुसार स्थानीयको भीडका कारण संस्थानमा सुरक्षाकर्मी नै परिचालन गर्नुपथ्र्यो। राति अबेसम्म डिपो खुला राख्नुपथ्र्यो।जिल्लामा सडक पहुँच फैलिएपछि भने अनुदानको चामल गोदाममै सड्न थालेको छ। संस्थानको शाखा कार्यालयमा अघिल्लो आर्थिक वर्षकै करिब ५ हजार क्विन्टल चामल जगेडा छ। गत आवको ५ हजार २ सय क्विन्टल मौज्दात छ।
‘व्यापारीको चामलले गर्दा खाद्यको चामल बिक्री हुन छाडिसक्यो,’ संस्थानका कर्मचारी रणबहादुर रावलले भने, ‘हिजोआज गोदाम भरिभराउ छ। बिक्री हुनै छाडयो।’ सरकारी अनुदानको चामल ३२ देखि ४९ रुपैयाँमा बिक्री भइरहेको छ। गमगढी बजारमा प्रतिकिलो ५० देखि ५५ रुपैयाँमा मसिना चामल पाइने भएकाले स्थानीयले त्यही रोज्ने गरेका छन्। संस्थानले तीनपटक चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन। सस्तो र गुणस्तरीय भन्दै स्थानीयले बजारकै चामल किन्ने गरेका छन्। बजारमा चामल नपाउनेहरू मात्र खाद्यमा जाने गरेका छन्।
पुरानो गोदाममा मौज्दात अरुवा, सोना मन्सुली र मकवानपुर चामल सडेर उपभोग गर्न नमिल्ने भइसकेको छ। चामल बिक्री नहुँदा खरिद तथा ढुवानी मूल्य असुल गर्नै कठिनाइ छ। मुगुमा ५ वर्षअघि खाद्यान्न कोटा २२ हजार क्विन्टल थियो भने अहिले घटेर १२ हजार पुगेको छ। उक्त चामल तराईबाट जिल्ला पुर्‍याउन ढुवानी खर्च मात्रै डेढ करोड नाघ्ने गरेको खाद्य संस्थानका प्रमुख भरतराज खनियाँले बताए। उनका अनुसार अहिले छिमेकी जिल्ला हुम्लाका बासिन्दाले मात्र खाद्यको चामल उपभोग गर्छन्। जिल्लामा श्रीकोट, सोरू र पुल गरी तीन डिपो छन्। छिमेकी जिल्ला हुम्लाको सर्केगार्ड डिपोमा पनि गमगढीबाट चामल ढुवानी हुने गरेको छ। उक्त डिपोमा अघिल्लो वर्ष मुगुबाट करिब १३ सय ३७ क्विन्टल चामल पठाइएको संस्थानले जनाएको छ। संस्थानका अनुसार गत आवमा सोरू डिपोमा ७ सय ५० क्विन्टल र पुलु डिपोमा २ हजार ८० क्विन्टल चामल ढुवानी भई बिक्री भएको छ।

देश

भरिँदै गोदाम

हुम्ला (कास)– गत आवमा खाद्य संस्थानले जिल्लामा पर्याप्त खाद्यान्न ढुवानी गरेन। स्थानीयको माग त परै जाओस्, सरकारले निर्धारण गरेको कोटा बराबरको खाद्यान्नसमेत उपलब्ध गराएन। आव ०७३/७४ का लागि निर्धारित कोटामध्ये ३२ प्रतिशत खाद्यान्न अपुग रह्यो। खाद्य व्यवस्था समितिले जिल्लामा ३० हजार क्विन्टल कोटा माग गर्दै आएको थियो।
संस्थानको जिल्लास्थित कार्यालयका अनुसार सरकारले गत आवमा सिमकोटस्थित शाखा कार्यालयका लागि १३ हजार ५ सय, सर्केघाट र श्रीनगर डिपोका लागि क्रमश: ४५ सय र ९५ सय क्विन्टल कोटा निर्धारण गरेको थियो। तीमध्ये सिमकोटमा ८ हजार ९ सय, सर्केघाटमा २ हजार ६ सय, श्रीनगरमा ७ हजार २ सय क्विन्टल ढुवानी भएको छ। जिल्लाको निर्धारित कोटा २७ हजार ५ सयमध्ये ८ हजार ८ सय क्विन्टल ढुवानी नै भएन। शाखा कार्यालय सिमकोटबाट सिमकोट, खार्पुनाथ, नाम्खा गाउँपालिका, सर्केघाट डिपोबाट सर्केघाट र चंखेली, श्रीनगर डिपोबाट ताजाकोट र अदानचुली गाउँपालिकाका बासिन्दालाई खाद्यान्न उपलब्ध गराउने व्यवस्था छ। सरकारी निर्धारित कोटाको खाद्यान्न नै संस्थानले ढुवानी नगर्दा चंखेली र सर्केघाट गाउँपालिकाका बासिन्दा मुगुको गमगढीबाट महँगो ढुवानी भाडा तिरेर झिकाउन बाध्य छन्। ताजाकोट र अदानचुली गाउँपालिकाका बासिन्दा पनि बाजुराको कोल्टीबाट ढुवानी गरिरहेका छन्।
संस्थानले ढुवानी नगरेकै कारण खाली भएको सिमकोटस्थित संस्थानको गोदाममा साउन २ बाट भने मौज्दात बढ्न थालेको छ। संस्थानले नेपालगन्ज र सुर्खेतबाट हुने ढुवानी भाडा बढाएका कारण निजी हवाई कम्पनीले ढुवानी गर्न थालेसँगै गोदाममा मौज्दात बढेको हो। संस्थानले नेपालगन्जबाट प्रतिकिलो ११५ र सुर्खेतबाट प्रतिकिलो १०५ रुपैयाँ भाडा निर्धारण गरेको छ। ‘साउनबाट निजी हवाई कम्पनीले ढुवानी गर्न थालेपछि खाली गोदामले मौज्दात पाएको छ,’ शाखा प्रमुख नारायणसिंह केसीले भने, ‘सबै हवाई कम्पनीले ढुवानी गर्न थालेपछि खाली गोदाममा अहिले ३ सय क्विन्टल चामल मौज्दात भएको छ।’ मौसम अनुकूल भए नियमित ढुवानी हुने उनले बताए।
निर्धारित कोटाको खाद्यान्न समयमै ढुवानी नभएपछि असार पहिलो साता सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाको नेतृत्वमा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललगायतको टोली काठमाडौंको केन्द्रीय कार्यालय पुगेर धर्ना दिएको थियो। संस्थान नेतृत्वले असारभित्रै ढुवानी गराउने प्रतिबद्धता जनाएपछि टोली जिल्ला फर्किएको हो। संस्थानले त्यति बेला असारमै ढुवानी गर्ने भने पनि साउनबाट मात्र नियमित हुन थालेको छ। चालु आवका लागि कोटा निर्धारण भइसकेको छैन।

देश

मिति नाघेपछि बल्ल सुरसार

विकास निर्माणमा सुस्तता
- हरि गौतम

रुकुम– सम्झौताअनुसार काम अघि बढेको भए आठबिसकोट नगरपालिका–८ बुदबुदेखोला लघु जलविद्युत् आयोजनाको थप सेवाक्षेत्रका सर्वसाधारणले आर्थिक वर्ष २०७२/०७३ भित्रै बिजुली बालिसक्ने थिए। तर, अहिले पनि विद्युत् विस्तार पूरा भइसकेको छैन। विद्युत् विस्तार समिति निरन्तर निर्माणमा जुटिरहेको छ। गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने चौरजहारी नगरपालिका–१३ को जनआस्था आधारभूत विद्यालय भवन पनि अहिले निर्माणको चरणमा छ। सम्झौताअनुसार उक्त भवन वर्ष दिनअघि नै निर्माण भइसक्नुपथ्र्यो। यी दुवै आयोजनाको काम सम्झौता मिति सकिएको एक वर्षपछि बल्ल थालिएको छ। आव २०७२/०७३ मा सम्झौता भए पनि एक वर्षपछि काम थालिएको योजना यत्तिमै सीमित छैन। गत वर्ष असार मसान्तसम्म निर्माण भइसक्ने गरी सम्झौता भएका मुसिकोट नगरपालिका–७ का दुई योजना पनि २०७३/०७४ को अन्तिममा आएर निर्माण सम्पन्न भए। सूर्याेदय आधारभूत विद्यालयको भवन निर्माण र सिप्चाखोला सिँचाइ आयोजना पनि आव २०७२/०७३ मै निर्माण भइसक्नुपर्नेमध्येका योजना हुन्। स्थानीय सामुदायिक संस्थाले गरिबी निवारण कोषसँग यी ४ योजना निर्माणका लागि आव २०७२/०७३ मा ५५ लाख १२ हजार ६० रुपैयाँको सम्झौता गरेका थिए। बुदबुदेखोला लघु जलविद्युत् विस्तारका लागि ९ लाख ५७ हजार ४ सय ६४ र जनआस्था आधारभूत विद्यालय भवन निर्माणका लागि १९ लाख ९७ हजार ५ सय ९६ रुपैयाँ निर्माण उपभोक्ता समितिलाई दिने सम्झौता गरिबी निवारण कोषले गरेको थियो। यसैगरी सूर्योदय आधारभूत विद्यालयको भवन निर्माणका लागि १९ लाख १ हजार र सिप्चाखोला सिँचाइ आयोजना निर्माणमा ६ लाख ५६ हजार नगद दिने सम्झौता थियो। सम्झौतालगत्तै काम गर्ने योजनामा रहेका उनीहरू भनेकै समयमा कोषले रुपैयाँ नदिएपछि एक वर्ष ढिलो भएका हुन्। आव २०७२/०७३ मै काम सम्पन्न गर्ने गरी योजनाको सम्झौता गरिए पनि सम्झौताअनुसारको रकम भने आर्थिक वर्ष २०७३/०७४ को अन्त्यमा मात्रै आएको सिप्चाखोला सिँचाइ आयोजना निर्माण समितिका अध्यक्ष अनन्त गिरीले बताए। उनले वर्ष दिनअघि गरिएको सम्झौताअनुसार वर्ष दिनपछि आयोजनाको काम सम्पन्न भएको जानकारी दिए। सम्झौताअनुसारको रकम समयमै नपाउँदा काम गर्न समस्या भएको सूर्योदय आधारभूत विद्यालय भवन निर्माण समितिका सचिव कलबहादुर कुँवरले बताए। एक वर्षअघिको सम्झौताअनुसार काम गर्दा निर्माण उपभोक्ता समिति आर्थिक भारमा परेको उनको गुनासो छ। ‘एक वर्षअघिको दर रेटमा सामान खरिद, ढुवानी र ज्याला दिनुपर्दा व्ययभार बढेको छ,’ उनले भने, ‘सम्झौताअनुसार काम सकिए पनि दोस्रो किस्ताबापतको रकम अझै निकासा भएको छैन।’
गरिबी निवारण कोषका जिल्ला कार्य प्रबन्धक गंगाबहादुर शाहीले कोषविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि सम्झौता भएका कुनै पनि काम समयमै हुुन नसकेको बताए। साझेदार संस्था घटाउने विषयमा अनियमितता भएको भन्दै उतिबेलाका केही साझेदार संस्थाले मुद्दा हालेपछि कामकाज अवरुद्ध बनेको उनको भनाइ छ। ‘मुद्दाको अन्तिम किनारा नलागेसम्म केही काम भएन,’ प्रबन्धक शाहीले भने, ‘त्यसको असर सम्झौता भइसकेका सामुदायिक संस्था तथा निर्माण उपभोक्ता समितिमा पर्‍यो।’ उनका अनुसार चारवटै आयोजना निर्माणका लागि पहिलो किस्ताको मात्रै रकम निकासा भएको छ।

देश

दुर्घटनामा ५ को मृत्यु

काठमाडौं (कास)– देशका छुट्टाछुट्टै स्थानमा बिहीबार भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । कास्की र लमजुङको सिमाना रुदी दोभानको पुलबाट ना५ख ६३९५ नम्बरको बस खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। एक जनालाई खोलाले बगाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
दुर्घटनामा लमजुङको क्व्होलासोंथर गाउँपालिका–७ तल्लो चरागाउँ केम्लीका खिमप्रसाद गुरुङ र बाराको फेटा गाउँपालिका–६ का विनोद मण्डलको मृत्यु भएको डीएसपी समीरचन्द्र खरेलले बताए। खोलाले बगाएका व्यक्तिको पहिचान खुल्न सकेको छैन । दिउँसो १ बजे भएको दुर्घटनामा ३२ जना घाइते भएका छन्। गम्भीर १० मध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनायो । घाइतेमध्ये २४ जनाको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मनिपाल शिक्षण अस्पताल र बाँकीको मध्यनेपालको रामबजारस्थित स्वास्थ्यचौकीमा उपचार गरिएको छ। चालक र सहयोगी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
यसै गरी मोरङ, सुनसरी र तेह्रथुममा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिकाको महेन्द्रचोकमा गुडिरहेको को१ख ४५४२ नम्बर बसबाट खसेर एक युवकको बुधबार राति मृत्यु भएको छ। प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन। सुनसरीको कोसी गाउँपालिका ७ हरिपुरमा मे१ज २३३ नम्बर पिकअप भ्यान र मे८प ९७७ नम्बर मोटरसाइकल ठोक्किँदा झापाको बिर्तामोडका राजु लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल पछाडि बसेका मनोज साह घाइते भएका छन्। यस्तै तेह्रथुमको जिरिखिम्तीबाट धरान जाँदै गरेको को१०प ५६२० नम्बर मोटरसाइकल कोसी राजमार्गको लसुने–वसन्तपुर खण्डको च्याक्चेमा दुर्घटना हुँदा मोटरसाइकलको पछाडि बसेका राममाइला लिम्बूको मृत्यु भएको छ । धादिङमा बिहीबारै गजुरी गाउँपालिका–२मा ट्रिपर त्रिशूलीमा खस्दा चालक र सहचालक बेपत्ता छन्। बा४ख ५१४६ नम्बरट्रिपर सडकछेउका ४ वटा प्यारापिट ढाल्दै २५ मिटर तल त्रिशूलीमा खसेको थियो। ट्रिपर खसेको पुलबाट तर्दै गरेका प्रत्यक्षदर्शीले गजुरी प्रहरीलाई खबर गरेका थिए। बेपत्ता हुनेमा सिद्धलेक कुम्पुरका २३ वर्षीय चालक सागर दमाई र सहचालक २१ वर्षीय भोजराज थपलिया छन्।

देश

उद्योगको धूवाँ अस्पतालभित्रै

- जनक नेपाल
नेपालगन्जको सुर्खेतरोडस्थित औद्योगिक क्षेत्र र सय मिटर दूरीमा रहेको शिक्षण अस्पताल । तस्बिर : जनक/कान्तिपुर

नेपालगन्ज– सुर्खेत रोडस्थित औद्योगिक क्षेत्रबाट मुस्किलले सय मिटर उत्तरमा छ, शिक्षण अस्पताल। उद्योग चलेका बेला झ्याल खोल्न नमिल्ने गरी धूवाँ अस्पतालको वार्डसम्मै पुग्छ। ‘अस्पतालका वार्ड र चिकित्सक क्वार्टर मात्र होइन, वरपरका घरमा पनि समस्या छ,’ फिजिसियन डा. मधु अर्यालले भने, ‘बिरामीले स्वच्छ सास फेर्नसमेत पाउँदैनन्।’
अस्पताल हाराहारीकै उचाइको उद्योगका चिम्नीबाट कालो धूवाँ आउँछ। ध्वनि प्रदूषण पनि उत्तिकै छ। सहरको मध्यभागमा रहेको औद्योगिक क्षेत्रले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको डा. अर्याल बताउँछन्।
२०३० सालमा स्थापित नेपालगन्ज औद्योगिक क्षेत्रभित्र अहिले २९ वटा उद्योग सञ्चालनमा छन्। झन्डै नौ सय मजदुर कार्यरत छन्। चारवटा निर्माणाधीन छन् भने तीन उद्योग बन्द छन्। तीमध्ये प्लाइउड र मेटल उद्योगबाट धेरै प्रदूषण भएको गुनासो आएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताए। मोडर्न डोर्स एन्ड उड प्रोडक्ट्स प्रालि, विजय मेटल ग्रुप र रिजवान इन्जिनियरिङलगायत उद्योगलाई वातावरणमैत्री हुन एक वर्षमा चार पटकसम्म पत्राचार गरेको उल्लेख गर्दै उनले भने, ‘उद्योगबाट धूवाँ, धूलो र ध्वनि निस्कनु स्वाभाविक हो। हामी सकेसम्म कम गर्ने कोसिसमा छौं।’
औद्योगिक क्षेत्रका उद्योगबाट हुने प्रदूषण नियन्त्रण गर्न हरेक वर्ष उद्योग मन्त्रालयले अनुगमन गरी सुझाव दिँदै आएको छ। विज्ञको सुझावअनुसार उद्योगले नयाँ प्रविधि पनि भित्र्याएको पुन बताउँछन्। उद्योग सञ्चालकहरू पनि वातावरणमैत्री नयाँ प्रविधि भित्र्याइरहेको दाबी गर्छन्। ‘वातावरण मन्त्रालयको सुझावअनुसार काम गरेका छौं,’ मोडर्न डोर्स एन्ड उड प्रोडक्स प्रालिका सञ्चालक चम्पालाल बोथ्रेले भने, ‘सबै मापदण्ड पूरा गरेर काम गरेका छौं। त्यो जाँच गरेरै श्रम कार्यालयले उद्योग नवीकरण गर्छ।’ आफ्नो उद्योगबाट धूलो र धूवाँ कम गर्न उपलब्ध सबै प्रयत्न गरिएको उनले दाबी गरे।चार दशकअघि औद्योगिक क्षेत्र स्थापना गरिँदा यसलाई बस्तीभन्दा टाढा पारिएको थियो। सुर्खेत रोडमा अहिलेजस्तो बस्ती थिएन। अहिले भने बढो सहरीकरणले औद्योगिक क्षेत्र वरपर बाक्लो बस्ती बसिसकेको छ। औद्योगिक क्षेत्रसँगै सटाएर नेपालगन्ज मेडिकल कलेजले शिक्षण अस्पताल नै खोल्यो। ‘औद्योगिक क्षेत्रछेउमै अस्पताल खोल्नु पनि गलत निर्णय हो,’ पुनले भने। औद्योगिक क्षेत्रलाई सहरदेखि बाहिर लैजानुपर्ने बहस सुरु भएको छ। बाँके नौबस्तामा ३ सय ३८ बिघा क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्न विस्तृत अध्ययन (डीपीआर) तयार हुँदै छ। बाँकेकै कचनापुरमा विशेष औद्योगिक क्षेत्र (सेज) स्थापनाका लागि अध्ययन भइरहेको छ। बढी प्रदूषण फैलाउने उद्योगलाई त्यतै सार्नुपर्ने सुझाव नगरवासीले दिन थालेका छन्।

देश

पुन: मतगणना माग्दै मुद्दा

ओखलढुंगा (कास)– मतगणनामा अनियमितता भएको भन्दै तीन जिल्लाका मुख्य निर्वाचन अधिकृतविरुद्ध उच्च अदालतमा सातवटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये उदयपुरबाट एक, ओखलढुंगाबाट चार र सोलुखुम्बुबाट दुईवटा छन्।
सबै मुद्दा मतपरिणाम प्राप्त भएको मितिले १५ दिनभित्रको म्याद पारेर दर्ता भएको अदालतका निमित्त रजिस्ट्रार धु्रव कार्कीले बताए। ओखलढुंगाको चिशंखुगढी गापा प्रमुखका उम्मेदवार भीमबहादुर थापा, मानेभन्ज्याङ–२ का वडाध्यक्ष उम्मेदवार राममणि राई, मोलुङ गाउँपालिका–४ का वडाध्यक्ष उम्मेदवार प्रेमप्रसाद खतिवडा र सुनकोसी गापा–७ का वडाध्यक्ष उम्मेदवार रत्नकुमार श्रेष्ठले मुद्दा हालेका हुन् । उदयपुर, त्रियुगा नगरपालिकामा कांग्रेसबाट मेयर उम्मेदवार वसन्तकुमार बस्नेत र ११ नं. वडाध्यक्ष उम्मेदवार सुमन्त कोइरालाले पुन: गणनाको माग राखेका छन् ।
सोलुखुम्बुको लिखुपिके–२ र ४ का वडाध्यक्ष उम्मेदवारहरू सूर्यबहादुर बस्नेत र सुरज बस्नेतले पनि निर्वाचन कार्यालयलाई विपक्षी बनाई मुद्दा दर्ता गराएका छन्।

 

देश

सूचनामैत्री छैनन् कार्यालय

छोटकरी

दोलखा (कास)– जिल्लाका अधिकांश कार्यालय सूचनामैत्री नभएको सञ्चारकमीे जनाएका छन्। सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनका सम्बन्धमा गरिएको अध्ययनपछि पत्रकारहरूले त्यस्तो ठहर गरेका हुन्। टेलिफोन संवाद, स्थलगत अध्ययन र सूचनाको हकसम्बन्धी ऐनको अधिकार प्रयोग गरी आवेदनमार्फत सूचना माग गर्दा निराशाजनक नतिजा आएको छ। जिल्लाका सबैजसो पत्रकारले गरेको समीक्षाले यस्तो निष्कर्ष निकालेको हो। सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन गर्ने जिम्मेवारी पाएका प्रजिअ यज्ञराज बोहरासहितको छलफलमा जिल्लामा लिखित सूचना माग्ने चलन न्यून रहेको निष्कर्ष निकालिएको छ। कतिपयलाई सूचनाको हकसम्बन्धी ऐनबारे जानकारी नै नभएको पाइएको छ। नेपाल पत्रकार महासंघ दोलखा शाखा र राष्ट्रिय सूचना आयोगको सहयोगमा कार्यक्रम गरिएको थियो।

देश

सुत्केरीको मृत्यु

छोटकरी

सल्यान (कास)– वनगाड कुपिन्डे नगरपालिका–६ माथिल्लो डुडाखोलाकी तीनमहिने सुत्केरी २१ वर्षीया पार्वती विकको बुधबार मृत्यु भएको छ। एक महिनादेखि रक्तश्राव लगायत समस्याले पीडित उनलाई अस्पतालको साटो धामीकहाँ लगिएको थियो । पति शरद विक वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। आमाको मृत्युपछि ३ महिने छोरीको बिचल्ली छ। धामीझाँक्रीको भरपर्दा समयमै उपचार नपाएर विकको ज्यान गएको स्थानीय दीपेन्द्र भण्डारीले बताए।

देश

स्वाइनफ्लुबाट एकको मृत्यु

छोटकरी

स्याङ्जा (कास)– वालिङ नगरपालिका–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको मृत्यु स्वाइन फ्लुबाट भएको पुष्टि भएको छ। टाउको दुखेपछि गत असार २६ मा वालिङ प्राथमिक स्वास्थ्य केन्द्र आएका त्यहाँ उपचार हुन नसकपछि राजधानीको त्रिवि शिक्षण अस्पताल पुगेका थिए। त्यहाँ गत सोमबार उनको मृत्यु भएको हो । ‘सरुवा रोग नियन्त्रण महाशाखाबाट आएको पत्रमा अर्यालको मृत्युको कारण स्वाइनफ्लु भन्ने खुलेको छ,’ वालिङका मेयर तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति संयोजक दिलीपप्रताप खाँणले भने, ‘वालिङ र आसपास क्षेत्रमा स्वाइन फ्लुको प्रकोप हुन सक्ने भएकाले सचेत रहन स्थानीयलाई आग्रह गरिसकेका छौं।’ स्वाइनफ्लुको नमुना परीक्षणका लागि काठमाडौंबाट शुक्रबार एक टोली वालिङ आउन लागेको र आवश्यक औषधि बिहीबारै आइसकेको खाँणले बताए। ‘वालिङ तथा आसपास क्षेत्रबाट ७/८ बिरामीलाई पोखरा र काठमाडौंमा रिफर गरिसकिएको छ,’ उनले भने, ‘जो कोहीलाई पनि लामो समयसम्म रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ, घाँटीसम्बन्धी समस्या भएमा प्राथमिक स्वास्थ्य केन्द्रमा आउन नगरपालिकाका तर्फबाट आग्रह गरिएको छ।’

देश

बलात्कार आरोपमा पक्राउ

छोटकरी

धनकुटा (कास)– महालक्ष्मी नगरपालिका र खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकामा बालिका र वृद्धा बलात्कृत भएका छन्। महालक्ष्मी नगरपालिका–५ मा ११ वर्षीयालाई बलात्कार गरेको
आरोपमा उमेश रम्तेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार रहेका रम्तेललाई मोरङको रंगेलीबाट बुधबार पक्राउ गरिएको हो । यसैगरी खाल्सा छिन्ताङ–२ का झलकमान राई स्थानीय ६६ वर्षीया वृद्धालाई बलात्कार गरी फरार रहेको प्रहरीले जनाएको छ ।

देश

कुटपिटबाट मृत्यु

छोटकरी

नुवाकोट (कास)– आपसी विवादपछि कुटपिट हुँदा दुप्चेश्वर–५ बालकुमारीका ४४ वर्षीय श्याम तामाङको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार गाउँलेबीच झगडामा तामाङमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

देश

सडक अवरुद्ध

छोटकरी

सल्यान (कास)– बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारदेखि चौरजहारीसम्मको सडक हिलाम्मे भएपछि दुई सातादेखि अवरुद्ध छ। बनगाड कुपिण्डे नगरपालिका, कुमाखमालिका गाउँपालिका र रुकुम चौरजहारीका स्थानीय प्रभावित भएका छन्। गाडी नचलेपछि उनीहरू लामो समय हिँडेर आउजाउ गर्न बाध्य छन्। बिरामीलाई उपचारका लागि लैजान समस्या भएको स्थानीयको भनाइ छ। तरकारी र कृषिजन्य सामग्रीले बजार पाउन छाडेको गर्चेका विनोद खडकाले बताए। सडक हिलाम्मे र खाल्डाखुल्डीयुक्त भएपछि गाडी फस्ने र निकाल्न धेरै समय लाग्ने भएकाले गाडी चलाउन छाडेको व्यवसायीको भनाइ छ।

देश

करणी प्रयासमा पक्राउ

छोटकरी

खोटाङ (कास)– जबरजस्ती करणी गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन्। हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका ३८ वर्षीय शिवराज राईलाई पक्राउ गरिएको हो। राईमाथि साउन ७ गते राति स्थानीय एक सुत्केरी महिलालाई बलात्कार गर्न खोजेको आरोप छ। राईलाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका सइ मनोज यादवले बताए। पछिल्लो समय जिल्लामा करणीका घटना बढेका छन्। प्रहरीका अनुसार गत आवमा ११ जबरजस्ती करणी र सातवटा जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन्।

देश

दम्पती मृत फेला

छोटकरी

काभ्रे (कास)– धुलिखेल–८ बडालगाउँमा एक दम्पती मृत भेटिएका छन् । ३२ वर्षीय भैरव भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीया मनीषा दाहाल पासो लगाएर रूखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनराज राईले बताए। काभ्रे बहुमुखी क्याम्पसमा अध्ययनरत मनीषालाई सोमप्रसादले १ वर्षअघि विवाह गरेका थिए। स्थानीयका अनुसार बुधबार बेलुका जेठी श्रीमती टीकामायालाई खाना बनाउँदै गर्नु भनेर निस्किएका उनीहरू घरबाट २ सय मिटर तल वनमा झुन्डिएको अवस्थामा भेटिएका थिए। टीकामाया बुधबार श्रीमान्ले हेरचाह नगरेको भन्दै उजुरी दिन जिल्ला प्रहरी कार्यालय आएकी थिइन्। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी राईले जानकारी दिए।

देश

‘लार्चामा बेलिब्रिज यसै साता’

छोटकरी

सिन्धुपाल्चोक (कास)– नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले लार्चामा यही साता बेलिब्रिज बनाउने घोषणा गरेका छन्। तातोपानी नाका जोड्ने लार्चा पुल पहिरोले भत्काएपछि निरीक्षणमा आएका बस्नेतले चीनसँग समन्वय गरेर बेलिब्रिज निर्माण गरिने बताए। लार्चामा भेला भएका स्थानीयलाई सम्बोधन गर्दै उनले भने, ‘चिन्ता नगर्नुस्, सातामै बेलिब्रिज निर्माण सुरु हुन्छ।’ बेलिब्रिज निर्माणपछि सबै दलको पहलमा तातोपानी नाका खुलाउने पनि उनको भनाइ छ । पुल भत्केपछि सीमाको ५ किमि क्षेत्र नाकाबन्दीमा परेको छ। यो मन्त्री बस्नेतको निर्वाचन क्षेत्र हो। सरकारी निकाय र निजी क्षेत्रको प्रयासमा भोटेकोसी पार गर्न नयाँ ट्रयाक खोलेर फड्के हाल्ने प्रयास भइरहेको छ। २०३८ सालमा चीन सरकारले बनाएको ९० मिटर लामो लार्चा पुल आइतबार पहिरो खसेर ध्वस्त भत्किएको थियो ।

देश

बेचबिखनमा पक्राउ

छोटकरी

नुवाकोट (कास)– १२ वर्षीया बालिकालाई बेचेको आरोपमा दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीका ४४ वर्षीय मानबहादुर तामाङ पक्राउ परेका छन्। हेटौंडामा अस्थायी बसोबास गर्दै आएका तामाङमाथि २०६५ मा बालिका बेचेको अभियोग लागेको थियो। पढाउने र राम्रो लुगा लगाउन दिने प्रलोभनमा तामाङले बालिकालाई भारतको कोलकातास्थित हल्दिया कोठीमा बेचको पीडितको भनाइ छ। जिल्ला प्रहरी प्रमुख (एसपी) देवबहादुर बोहराका अनुसार बेचिएको महिनामै भारतीय सुरक्षाकर्मीले बालिकाको उद्धार गरेका थिए। स्थानीय सामाजिक संस्थामा २ वर्ष राखेर बालिकालाई नेपाल पठाइएको थियो।

देश

रोपाइँ हुन सकेन

छोटकरी

धादिङ (कास)– साउन आधा हुनै लाग्दासमेत पर्याप्त पानी नपर्दा किसानका खेत बाँझै छन्। धादिङ र गोरखाका कतिपय टारी–पाखा खेतमा रोपाइँ हुन सकेको छैन। गजुरी गाउँपालिका–७ किरान्चोकमा आकाशे पानीको भरमा रोपिने टारी खेत बाँझै छ। ‘पानीकै अभावमा किसानले हालसम्म खेत जोत्न पाएका छैनन्,’ किरान्चोकका किसान पहलबहादुर सिललाले भने, ‘बेल्खुखोला–जामुनटार सिँचाइ आयोजना बिग्रिएर १४ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन।’ यो नहर सञ्चालन हुँदा सुरुका ३ वर्ष राम्रै सिँचाइ भएको थियो। पानी अभावमा गोरखा पाप्लेका किसानले मकै र कोदो रोप्न थालेका छन् भने केही जमिन बाँझिएको छ।

 

देश

गाँजा बरामद

छोटकरी

धनकुटा (कास)– खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका–२ बाट प्रहरीले ४५ केजी गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। स्थानीय झलकमान राईको घर नजिकको गोठमा बिक्री गर्न तयारी अवस्थामा राखिएको ४५ केजी गाँजा बुधबार राति बरामद गरिएको हो । गाँजासहित राईकी पत्नी कुसुमलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए।

 

Page 10
सम्पादकीय

घाटा कम गर्न उत्पादन बढाऊ

मुलुकभित्र उत्पादन र उत्पादकत्व नबढेको तर विशेष गरी रेमिट्यान्सले उपभोग बढेका कारण गत वर्ष व्यापार घाटा ९ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७२/७३ को तुलनामा यो २९ प्रतिशतको वृद्धि हो। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ३३ वटा मुलुकसँग एक अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा छ। अर्थात् यी मुलुकमा नेपालका सामग्री निर्यातको तुलनामा आयात अत्यधिक छ।
तथ्यांकअनुसार दैनिक उपभोग गर्नुपर्ने अनिवार्यदेखि विलासिताका वस्तुमा परनिर्भरता कहालीलाग्दो अवस्थामा पुगेको छ। यसले हाम्रो अर्थतन्त्र संकटतर्फ उन्मुख भएको संकेत पनि गरेको छ। सरकारले व्यापार घाटा कम गर्न समय–समयमा केही नीतिगत प्रयास पनि गरेको छ तर परिणाम सकारात्मक आउन सकेन। यसले व्यावहारिक अवस्था र नीतिगत तह दुवैमा मुलुक चुक्दै आएको छ।
गत आर्थिक वर्ष सबैभन्दा बढी व्यापार घाटा भारतसँग भएको छ। तथ्यांकअनुसार भारतबाट ६ खर्ब ४१ अर्ब १७ करोड रुपैयाँको सामान आयात भयो। निर्यात भने ४१ अर्ब ६० करोड रुपैयाँमा सीमित भयोजसले गर्दा भारतसँगको घाटा मात्रै ५ खर्ब ९९ अर्ब ५७ करोड पुगेको छ। अघिका वर्षहरूमा समेत त्यही अनुपातमा भारतर्फबाट सामान आयात र निर्यात हुने गरेको थियो। खर्बभन्दा बढी रकमले व्यापार घाटा भएको अर्को मुलुक चीन हो। व्यापार घाटामा पहिलो र दोस्रो मुलुकमा भारत र चीन छन्। यसको मतलव हामीले भारत र चीनबाट अत्यधिक सामान आयात र निकै कम निर्यात गर्न सकेका छौं। आयातमा भइरहेको वृद्धिको तुलनामा निर्यात भने घट्दो क्रममा छ अर्थात २७ प्रतिशतले आयात वृद्धि भएकामा निर्यात भने ६ प्रतिशतले मात्रै वृद्धि भएको छ।
कतिपय मुलुकबाट आयात मात्रै भइरहेको छ। गत वर्ष १ सय ६७ देशबाट कुनै न कुनै सामान आयात भएका छन्। निर्यात भने सबै मुलुकमा हुन सकेको छैन। हरेक वर्ष दोहोरिने यस्तै प्रवृत्तिको तथ्यांकलाई देखाउँदै सरकारले सुधारका प्रयास सार्वजनिक गर्ने गरेको छ। वार्षिक विकास कार्यक्रम बजेट, नीति तथा कार्यक्रम तथा अन्य सरोकारवाला मन्त्रालयहरूले घाटा कम गर्ने उपाय भन्दै वर्षैपिच्छे नयाँ नयाँ नारा सार्वजनिक गर्छन्। तर ती कार्यक्रमको सम्भाव्यता, प्रभावकारिता र अनुगमन भने सधैं फितलो हुने गरेको छ। यतिसम्म कि, नेपालमा उत्पादन हुने सामाग्री निर्यात गरी व्यापार घाटा कम गर्न भन्दै सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र नै स्थापना गरेको छ। मुलुकको निर्यात सम्भावना भएका उत्कृष्ट वस्तुहरूको सूची तयार पारी निर्यात र प्रबद्र्धनात्मक कार्यक्रमसमेत भइरहेका छन्। एकीकृत व्यापार रणनीति (एनटीआईएस) भनिने तुलनात्मक लाभका वस्तुहरूको सूची ३ पटक सार्वजनिक गरिएको छ। पछिल्लो समय १२ वस्तु तथा सेवालाई तुलनात्मक लाभको सूचीमा राखिएको छ। तर नतिजा आउन सकेको छैन। तर बेलाबेला सार्वजनिक भएको तथ्यांकअनुसार
तुलनात्मक लाभका वस्तुको निर्यातको अवस्थासमेत निराशाजनक छ। यसका अलावा अन्य उत्पादन बढाउने काम हुन सकेको छैन। लाभका वस्तुहरू निर्यात गर्ने होस् या उत्पादन बढाउने विषयमा सरकारले नीति त बनाउने काम गर्‍यो, उत्पादन नै बढाउन भने सकेको छैन।
दोष सरकारको मात्रै हैन। निजी क्षेत्रको पनि छ। व्यापारीहरूको मानसिकता रातारात कसरी मुनाफा आर्जन गर्ने भन्नेमै केन्द्रित देखिन्छ। बढी रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने उद्योगहरूमा लगानी गर्न तुलनात्मक रूपमा बढी जोखिम मानिन्छ। तर, व्यापार अर्थात एउटा मुलुकबाट कुनै सामग्री ल्याउन र निश्चित प्रतिशत नाफा राखेर बिक्री गर्न जोखिम कम हुन्छ। लगानी गर्न सक्ने उद्योगी व्यापारीले समेत यही व्यापारको बाटो बढी रोजेको पाइन्छ। त्यसैले नेपालको ठूलो सम्भावना भएको क्षेत्र कृषिमा व्यवसायीकरण हुन सकेको छैन। यस्तै सम्भावना भएका अन्य क्षेत्रमा पनि उत्पादन बढाउन नसक्दा व्यापार घाटा चुलिँदै गएको हो। तसर्थ व्यापार घाटा कम गर्ने एउटा निर्विकल्प विषय हो स्वदेशी उत्पादन बढाउनु।
अब आयात प्रतिस्थापन र निर्यात बढाउने काम व्यवहारमै लागू गर्न सक्नुपर्छ। गत वर्षदेखि व्यापार घाटालाई रेमिट्यान्सले थेग्न नसक्ने अवस्था बनेको छ। रेमिट्यान्सभन्दा व्यापार घाटा झन्डै २ खर्ब बढी हुने देखिएको छजसले मुलुकको अन्य मुलुकसँगको खातामा नकारात्मक असर पर्दै जानेछ। यो अवस्था लम्बिँदै जाँदा भुक्तानी सन्तुलन ऋणात्मक हुँदै जानेछ। यसले विदिशी विनिमयदर र मूल्यवृद्धिको चाप पर्ने मात्र नभई मुलुक नै टाट पल्टिने अवस्थामा पुग्नेछ। त्यसैले उत्पादन बढाउन सरकार र निजी क्षेत्रको विशेष प्रयास आवश्यक छ।

दृष्टिकोण

चीन–भारत चर्किंदो विवाद

श्रीकृष्ण अनिरुद्ध गौतम
चीन र भारत दुवैले पञ्चशीलका शीलहरु क्रमश: बिर्संदै जाने सम्भावना प्रबल हुन जानेछ।

पछिल्ला दिनहरूमा चीन र भारतबीच देखापरेको द्वन्द्वलाई लिएर विश्वभर प्रशस्तै लेखिएको, पढिएको छ। यो द्वन्द्व विश्वकै चासोको विषय बन्नजानु अस्वाभाविक होइन, किनभने यी दुई विश्वका उदीयमान शक्ति हुन्। चीन संयुक्त राज्य अमेरिकालाई पछि पार्दै विश्वको पहिलो आर्थिक शक्ति बन्ने होडमा छ भने भारत आज एसियाको तेस्रो आर्थिक शक्तिका रूपमा चिनिन थालेको छ। विश्व अर्थतन्त्रमा समेत यसले उल्लेख्य स्थान ओगट्न पुगेको छ। अर्थतन्त्र निश्चय नै महत्त्वपूर्ण पक्ष हो। आर्थिक सम्पन्नताको होडबाजी अन्यथा मानिँदैन पनि। तर यहाँ अहिले उठेको विषय दुई देशबीच बढ्दो सामरिक तनाव हो र यस तनावले यी दुई शक्तिबीच कतै युद्ध नै त निम्तिने होइन भन्ने भय हो। युद्ध हुन्छ अथवा हुँदैन, यो ठ्याक्कै ठम्याउन सकिँदैन। किनभने युद्धबाट उत्पन्न हुने भयावह स्थितिसँग दुबै अपरिचित छैनन्। विक्रमको २०१९ साल अर्थात् सन् १९६२ मा युद्ध गरेपश्चात चीन र भारतले एकअर्का विरुद्ध हतियार प्रयोग गरेका छैनन्। करिब एक महिनापूर्व भारत, भुटान र चीनको त्रिदेशीय सीमान्त क्षेत्रमा चीनद्वारा सडक निर्माण गरिएको विषयलाई लिएर भएको विवादमा समेत अस्त्रशस्त्रको प्रयोग गरिएको छैन। जबकि यही विवाद नै वर्तमान तनावको प्रत्यक्ष कारण हो। सन् १९६२ को युद्धपश्चात् जतिसुकै विवाद भए तापनि सीमामा यिनीहरूले ठेलमठेल गरेका, शारीरिक बलमात्र प्रदर्शन गरेका तर हतियार उठाएका छैनन्। तनाव उत्कर्षमै पुगे पनि दुबै पक्षले संयम धारण गर्ने गरेका छन्। यी हरफ लेखिँदै गर्दासम्मको अवस्था हेर्दा हालको विवादसमेत यसर्थ यथास्थितिमै रहन्छ, जो जहाँ छन्, त्यहीं रहन्छन्, त्यसभन्दा अघि बढ्ने छैनन् भन्ने आधार नभएको होइन।तर जतिसुकै संयम धारण गरे पनि दुबैका विशालकाय महत्त्वाकांक्षा छन्। आन्तरिक सुरक्षा सुनिश्चित गर्ने र प्रभाव विस्तारका योजनाहरू छन्। निश्चय नै चीनको तुलनामा भारतको आन्तरिक सुरक्षा चुनौती बढी देखिन्छन्। तिनमा पूर्वोत्तरका प्रदेशहरू, उत्तरको काश्मीर र मध्यभारतमा सक्रिय माओवादी सशस्त्र गतिविधि प्रमुख छन्। तर भारत अप्ठ्यारोमा छ, चीनलाई सजिलै सजिलो छ भन्ने पनि होइन। आन्तरिक असन्तोषका हिसाबले चीन पनि सजिलो अवस्थामा भने छैन। भारत, नेपाल, भुटान र बर्मासँग सीमा जोडिएको स्वशासित क्षेत्र तिब्बत निश्चय नै बाहिर देखिए जस्तो शान्त छैन। तिब्बतमाथि पश्चिमा मुलुकहरू र भारतका आँखा छन्। त्यस्तै पश्चिमतर्फको मुस्लिम बहुल क्षेत्र पुरै तनावमुक्त छ भनिहाल्न मिल्दैन। भारत लोकतन्त्र भएकाले यसका समस्या बहुप्रचारित छन् र देखिन्छन्। चीन शक्तिशाली भए पनि अझै एकतन्त्री छ, त्यहाँ अभिव्यक्ति स्वतन्त्रता प्रतिबन्धित छ। त्यसैले आन्तरिक असन्तोष दबेका र भनिरहनु पर्दैन, विरोधका स्वरहरू मलिन छन्। अर्थात् आन्तरिक असन्तोषबाट उत्पन्न दबाब दुबै झेलिरहेका छन्। भारत भित्रका असन्तोष मुखर, चीनभित्रका अमुखरित छन्। आर्थिक सम्पन्नताको आकांक्षा नहुने विरलै हुन्छन्। तर जब आकांक्षाको आपूर्ति हुँदै जान्छ, समृद्धि जोगाउने र अरू बढाउने चुनौती प्रखर भएर आउँछन्। चीनका सामु यी चुनौती टड्कारै उपस्थित भएका छन् एकातिर भने अर्कातिर ऊबाट भयभीत हुनेहरूको संख्या पनि त्यतिकै बढिरहेको छ। अरू त अरू सन् १९९० को दशकमा सोभियत संघको विघटनपछि एक्लो विश्व महाशक्ति बनेको अमेरिका चीनबाट सतर्क हुनुपर्ने अवस्थामा पुगेको छ भने यस परिस्थितिमा भारतको भय अनाहक निश्चय नै होइन। फेरि माथि भनिएझैं भारतले सन् १९६२ मा नै चीनबाट परास्त हुनुपरेको पीडा बेहोरिसकेको हो र त्यसबाट उत्पन्न सन्त्रासबाट भारतीयहरू कहिल्यै मुक्त हुनसकेका छैनन्। भनाइ नै छ, चीनको नाममात्र लिए पनि भारतीयहरू दस पाइला पछि सर्छन्। तर यसपालि त्रिदेशीय सीमान्त क्षेत्रको चुम्बी उपत्यकामा पर्ने दोकला, दोपला, दोकलम आदि नामले चिनिने दोक्लाममा भारतीय सेना चीनद्वारा भइरहेको सडक निर्माण रोक्न आफैं अघि सर्नु वास्तवमा धेरैलाई आश्चर्यप्रद लागेको छ। यसबाट एउटाचाहिँ के पनि अर्थ निकाल्न सकिन्छ भने भारतको वर्तमान सरकार भारतीयहरूलाई चीनबाट हमेशा भयभीत रहने मनोविज्ञानबाट मुक्त गर्न चाहन्छ एकातिर भने अर्कातिर ऊ दक्षिण एसिया क्षेत्रमा आफ्नो परम्परागत प्रभाव यथावत् रहेको देखाउन चाहन्छ।
भनिरहनै पर्दैन, भारत दक्षिण एसिया अर्थात् भारतीय उपमहाद्विपमा अरू कसैको चलखेल रुचाउँदैन। यसका साथै वास्तवमा भारतीयहरूलाई सबैभन्दा दुख्ने घाउ केही छ भने त्यो पाकिस्तान हो। उनीहरूले स्वतन्त्रतासँँगै भारत विभाजन भएको दुखाइ अझै बिर्सिनसकेका छैनन्। पाकिस्तानलाई हृदयबाटै अझै स्वीकार्नसकेका छैनन्। त्यही पाकिस्तानसँग चीनको सहकार्य उनीहरूलाई पटक्कै रुचिरहेको छैन। तर उनीहरूलाई के पनि राम्ररी थाहा छ भने चीन–पाकिस्तान सहकार्य रोक्नु भारतको सामथ्र्यभित्र छैन। हुन पनि विगतमा अमेरिकाको पाकिस्तानसँग सहकार्यकै कारण भारत अमेरिकासँग टाढिएको र सन् १९७१ मा तत्कालीन सोभियत संघसँग सामरिक सन्धि गर्न पुगेको थियो। त्यसैताकाको भारत–पाक युद्धमा सोभियत संघले खुलेरै भारतलाई मद्दत गर्‍यो। त्यसैका फलस्वरूप पाकिस्तान भारतबाट पराजित भएको तथा उसको नक्साबाट पूर्वी पाकिस्तान मेटिएर त्यस स्थानमा बंंगलादेशको उदय भएको हो। देशहरूमा पनि व्यक्तिहरूमा जस्तै ‘इगो’ हुन्छ। भारत र पाकिस्तान भलै विगतमा अखण्ड भारत थिए, तर विभाजित र पृथक भएपछि निरन्तर एकअर्कासँग जुधिरहेका छन्। त्यही पाकिस्तानसँग चीनको सघन सहकार्य, विकास निर्माणदेखि सैन्य, सामरिक गठबन्धनका कारण भारत चीनसँग क्षुब्ध हुनपुगेको हो भने अर्को कोणबाट हेर्दा हिमालय दक्षिणका साना देशहरूमा उसको बढ्दो सक्रियताले भारतलाई अरू सशंकित बनाएको छ। वास्तवमा समस्या यहीं सीमित छैन। भारत भित्रकै आन्तरिक असन्तोषका चल्ते विशेष गरेर, पूर्वोत्तर भारत र काश्मीरमा चीनप्रति लगाव छ भन्ने विषय नयाँदिल्लीका नीति निर्माताहरूबाट लुकेको छैन। यदि भारतका अशान्त क्षेत्रसम्म चीनको सोझो पहुँच स्थापित भएमा परिस्थितिमा व्यापक उलटफेर हुनसक्छ। यसबाट भारत अकल्पनीय संकटमा फँस्न सक्छ भन्ने बुझाइका कारण पनि उसले यसपालि भुटान सीमान्तमै चीनलाई रोक्ने उद्यम गरेको हुनसक्छ।
यसका साथै सिक्किम प्रदेश हुँदै दार्जिलिङ, कालिम्पोङमा अत्यधिक तथा जलपाइगुडी र कुचविहारका उत्तरी फाँट अर्थात् डुवर्समा गोर्खाली (नेपाली) हरूको घना आवादी छ। भारतकै सरहदभित्रका गोरखालीलाई पनि भारतका नीति निर्माताहरूले नेपालकै विस्तारका रूपमा हेर्छन् भन्दा अन्यथा हुँदैन। किनभने व्यवाहारत: यसैको पुष्टि हुन्छ। भारतको सरहदभित्र परेका गोरखालीप्रति निरन्तरको अवहेलना र उनीहरूमाथि भइरहेको दमनका कारण उत्पन्न आक्रोशलाई चीनले आफ्नो पक्षमा प्रयोग गर्ने डर तथा पछिल्लो समयमा नेपालसँग चिसिएको सम्बन्ध र नेपालको चीनतर्फ झुकाव बढ्दैछ भन्ने धारणाले पनि भारतलाई आफू चीनबाट अरू घेरिन जाने त्रास पसेको हो। यसर्थ दोक्लाममा भारतको हस्तक्षेपका लागि प्रेरित
गर्ने धेरै कारणमध्ये भारतको सरहदभित्र परेका गोरखाली तथा नेपाल चीनतर्फ ढल्किँदैछ भन्ने उसको आशंका पनि हो भन्दा पक्कै स्थितिको अधिमूल्यन गरिएको ठहर्ने छैन।चीनसँग साँध जोडिएका भारतका छिमेकी देशले उसबाट असुरक्षित महसुस गर्नु तथा भारतकै पर्वतीय क्षेत्रका निवासीहरूलाई भारतीय मूलधारमा आबद्ध नगर्नाले नयाँदिल्ली आफैं सशंकित हुनुपरेको हो एकातिर भने अर्कातिर वास्तवमै चीनको आर्थिक र सामरिक क्षमतामा देखिएको अकल्पनीय वृद्धिका कारण आफूतर्फ विश्वको ध्यानाकृष्ट गर्न भारतले दोक्लाममा देखिने उद्यम गरेको हो। त्यस्तै चीनले पनि दक्षिण चीन सागरमा भइरहेको द्वन्द्वबाट विश्वको ध्यान अन्यत्र तान्न भारतको संवेदनशील क्षेत्रतर्फ आफ्नो अभिरुचि देखाएको होइन
भन्न सकिँदैन। निश्चय नै यसलाई कतिपयले चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’प्रति भारतको असहमति विरुद्ध चीनको प्रतिक्रियाका रूपमा पनि हेरेका छन्। तर कारण त्यतिमात्र होइन, किनभने विश्व राजनीतिको प्रतिमानमा परिवर्तन आइरहेको छ र नयाँ प्रतिमानमा को अगाडि हुने भन्ने होड पक्कै स्वाभाविक हुन आउँछ। यहाँ भन्नैपर्छ, आन्तरिक र बाह्य कारणहरू यदि युद्धका लागि परिपक्व भएकै हुन् भने चीन र भारतले एकपटक आआफ्नो शक्तिको परीक्षण गर्ने नै छन्। यदि होइन, कारणहरू परिपक्व भएका छैनन् भने युद्ध बाहेकका अरू उपायद्वारा दुबैले परस्पर मतभेदका बाबजुद यथास्थिति कायमै राख्नेछन्। अर्थात् जहाँसम्म चीन–भारतबीच शीतयुद्धको विषय छ, त्यो कायमै रहनेछ। तिब्बतमा भारत तथा हिमालय पर्वतमालाका वारपार चीन सतर्क अवस्थामा रहिरहनेछ। युद्ध अथवा शीतयुद्ध जे भए पनि चीन र भारतका छिमेकी देशहरूले आआफ्नो सुरक्षा के कसरी सम्भव हुन्छ, त्यसतर्फ विशेष ध्यान दिनु पर्नेछ तथा तदनुरूप र तदनुकूल नीति अवलम्बन गर्नु पर्नेछ। त्यसो नगरेमा सरहदको मर्यादा रहने छैन, चीन र भारत दुबैले पञ्चशीलका शीलहरू क्रमश: बिर्संदै जाने सम्भावना प्रबल हुन जानेछ।

पाठक मञ्च

नयाँ मन्त्रीहरूलाई शुभकामना

नेपालमा नयाँ सरकार गठन हुनु र सरकार ढल्नुलाई खासै धेरै महत्त्व दिन छाडिएको छ। अहिलेसम्म कैयौं प्रधानमन्त्री भए, त्यस्तै सयौं मन्त्री भैसकेका छन्। तर केही प्रधानमन्त्री तथा मन्त्रीको नाममात्र सर्वसाधारण नागरिकको मानसपटलमा रहिरहेको छ। बेलाबखत नेता हुनका लागि शैक्षिक योग्यताको कुरा पनि उठ्ने गर्छ। तर मन्त्री बन्न सामान्य परीक्षा त पक्कै पनि पास गर्नुपर्ने रहेछ। अहिले त झन् यो परीक्षा करिब डेढ महिनासम्मै चल्यो। कस्तोसम्म भने आज केहीको चर्चा चल्छ, राति ठूलठूला सपना देखेर सुत्ने नेताको बिहान उठ्दा नाम काटिसकिएको पनि हुँदोरहेछ। फलानो गुटबाट यति, अर्को गुटबाट यति भन्दै प्रतिनिधित्व गराउने गरेको त विगतदेखि नै छर्लंगै देखिएको हो। यो गुटगत प्रतिनिधित्वबाट केही नयाँ राम्रा व्यक्तिले पनि छिटो नै मन्त्री हुने अवसर पाए र केही नयाँ काम सुरु पनि गरेर देखाए। तर यसबाट थुप्रै आशा गरिएका नेता पिल्सिरहेका पनि छन्। गुटगत आधारमा प्रतिनिधित्वभन्दा योग्य व्यक्तिलाई स्थान दिएको भए समग्र देशकै लागि राम्रो हुने थियो। मन्त्री हुन यत्रो ठूलो परीक्षामा सफल हुनुभएका सम्पूर्णलाई हार्दिक बधाई। अहिलेको मन्त्री बन्ने परीक्षा थुप्रै नयाँ अनुहारले पास गर्नुभएको छ। यो सफलतालाई एउटा सामान्य प्रक्रियाका रूपमा मात्र नलिई उहाँहरू देशले मागेको अनुहारका रूपमा स्थापित हुन सफल बन्नुहुनेछ भन्ने आशा छ।
– नारायण अर्याल मुसिकोट– १, गुल्मी
जेठ २३ मा प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाले साउन ११ गते मन्त्रिपरिषद् विस्तार गर्नुभयो। आफू प्रधानमन्त्री बन्न हतार गरेका देउवाले डेढ महिनाभन्दा बढी समय लगाएर मन्त्रिपरिषद् विस्तार गर्नुले देउवा सरकारको ढिलासुस्ती र लापरबाहीलाई प्रस्ट्याउँछ। किन यति ढिलो मन्त्रिपरिषद् विस्तार भयो त? आफ्नै पार्टीमा ऊ पक्ष त्यो पक्ष भनी मन्त्री बनाउने कांग्रेस कहिले एकै पक्ष हुन्छ? जबसम्म पार्टीमा व्यक्ति पक्षको राजनीति चल्छ, तबसम्म कांग्रेसले जनता र आफ्ना कार्यक्रताको मन जित्न सक्दैन। देशको जिम्मेवार पार्टी नेपाली कांग्रेसप्रति अरू पार्टीका आस्थावानहरू पनि झुकाव राख्छन्। तर दिन–प्रतिदिन कांग्रेस भित्रको गुटबन्दीले आम कांग्रेसका कार्यकर्ता, शुभेच्छुक निराश बन्दैछन्। यसरी गुट–उपगुटको अन्त्य सभापतिले विशेष पहल चाल्न र
सबैलाई एक बनाउन आवश्यक छ। जे होस्, विस्तारित मन्त्रिपरिषद्का सबै मन्त्रीज्यूहरूलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना।
– नवीन देवकोटा
पञ्चदेवल–विनायक नगरपालिका–२, अछाम


 ४१.७७ प्रतिशत मत बदर
बुधबारको कान्तिपुर दैनिकको प्रथम पृष्ठमा ‘कुन दल कत्रो?’ भनेर समाचार छ। सबै दलको विस्तृतमा जानकारी पाइयो। तर निर्वाचनकै सन्दर्भमा ४१ प्रतिशतभन्दा बढी मत बदर भएको समाचार कतै आएन। विराटनगर महानगरपालिकाको उपमेयर पदमा ४१ दसमलब ७७ प्रतिशत अर्थात ३३ हजार ७ सय १५ मत बदर भएको थियो। जबकि उपमेयरमा विजयी भएकी नेपाली कांग्रेसकी इन्दिरा कार्कीले २० हजार १ सय ४६ मात्र ल्याएकी थिइन्। विराटनगरका १ लाख १३ हजार ७ सय ६१ मतदातामध्ये ८० हजार ७ सय २४ मतदान गरेका थिए। खसेको मतमध्ये उपप्रमुख पदमा ४७ हजार ९ मतमात्र सदर भएको थियो। विजयी उम्मेदवारले पाएको मतभन्दा १३ हजार ५ सय ६९ मत बदर भएको थियो। भनिन्छ, विराटनगर राजनीतिक सहर हो। देशमा हुने गरेका परिवर्तनहरूको सुरुवात विराटनगरबाट हुन्छ। जे पनि विराटनगरले एक दिनअघि सुरु गर्छ। तर महानगरपालिकाको निर्वाचनमा भने सबैभन्दा बढी मत बदर हुने महानगरपालिकाका रूपमा विराटनगर दर्ज भएको छ। यो पनि सुरुवात हो कि? अब प्रदेश नंं. २ को निर्वाचनले यो रेकर्डलाई पनि तोड्ने हो कि? निर्वाचन आयोग, राजनीतिक पार्टीहरू बदर मतको संख्या घटाउन के गर्दैछन्? बदर मतको समाचार आए निर्वाचन आयोग, राजनीतिक पार्टी र एनजीओहरूको सक्रियता बढ्ने थियो कि?
– विजयप्रसाद मिश्र
विराटनगर– १२

 मलाई नछोइदेऊ
सुजाता गोलेले ढलको फोहोर पानीभित्र पसेर ह्विलचियर तानेर अपांगता भएको व्यक्तिको उपकार गरिन्। घटना वरिपरि चिल्ला र दर्शनका लेपयुक्त भाषा बोल्नेहरू थुप्रै थिए होलान्। तर कसैले त्यो फोहोर पानीमा पसेर उपकार गर्न चाहेनन्, हेरिरहे फोटो खिचे, वाहवाह गरे। चिल्ला र दर्शनयुक्त शब्दहरू रफुचक्कर भए त्यतिखेर। तर नेपालमा यस्तो पनि एकथरी मान्छे छन् कि सहयोग गर्न खोज्दा पनि मलाई नछोइदेऊ है भन्छ। धादिङबेँसीमा धाराबाट एक बूढी आमा एक लोटा पानी लिएर थरथर काम्दै चिप्ला खुड्किलाबाट उक्लिन खोज्दा मुस्किल परिरहेको थियो। मेरी ११ वर्षकी नातिनीले कलिला हातहरू बढाउँदै सहयोग गर्न खोज्दा मलाई नछोइदेऊ भन्दै बडा मुस्किलले चार हातगोडा टेकेर उक्लिन् र गइन् बूढी आमा। त्यो चोखो पानी घरमा भएको ढुङ्गामाथि खन्याएर धर्म गरिन् होली बूढी आमाले।
– गणेश गोम्चन
धादिङ

 प्रत्यक्ष कार्यकारी प्रमुख चाहियो
प्रधानमन्त्रीमा निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। राज्य र सहायकमन्त्री नियुक्त गर्न अझै बाँकी भए पनि अधिकांश मन्त्रालयले मन्त्री पाएका छन्। प्रधानमन्त्री भएका देउवाले मन्त्री नियुक्ति गर्न यतिका समय लगाए। म्यादी मन्त्रीहरूलाई मन्त्रालयबारे बुझ्नै ६ महिना लाग्ला। अनि कहाँबाट हुन्छ, देशको विकास? कसैलाई नराम्रो नलागोस्, नेपाल राजनीतिक, आर्थिक, सामाजिक रूपले डामाडोल हुनुमा अस्थिर सरकार नै प्रमुख कारण हो। महिनैपिच्छे मन्त्रीहरू हेरफेर भइरहने तर जनताको जीवनस्तर जस्ताको त्यस्तै रहने प्रवृत्ति नेपालमा मात्रै हो भन्दा हुन्छ। मुलुकलाई चौपट हुनबाट बचाउन संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नु नै अबको बाटो हो। नत्र नेपालीले सधैंभरि सतिले सरापेको देश हो भन्दै पुर्पुरोमा हात समाएर बसे हुन्छ।
– एसपी बडु
कृष्णपुर–६, कञ्चनपुर

 डा. केसीलाई साथ
१० आंै पटकसम्म सयौं दिन अनशन बस्दाबस्दै गलित भएको एउटा ६० कटेको बूढो शरीर पुन: पहिलोपटक जे माग राखेको थियो, हो, त्यही माग राखेर ११ औं पटकको आमरण अनशनमा छट्पटाइरहेको छ। हिम्मत, अटलता, सत्यता, निस्वार्थ, परिवर्तनका वाहक र समाजसेवी डा. गोविन्द केसी मेडिकल शिक्षालाई व्यापार बनाउने व्यापारी, दलाल र माफियाविरुद्ध अनशनरत छन्। उनी मेडिकल शिक्षा र स्वास्थ्यमा भएको ब्रह्मलुटको विरुद्ध छन्, बिरामीको उपचार गर्न नजाने डाक्टरहरूको विरुद्धमा छन्। मेडिकल कलेजहरू सहरमा धेरै भए, अब ग्रामीण इलाकामा खोलिनुपर्छ भनेर निरन्तर आवाज उठाइरहेका छन्। मागहरू जायज हँुदाहुँदै पनि मेडिकल माफियाको चंगुलमा फँसेका
कोही पनि खुलेर उनको पक्षमा बोल्ने आँट गर्दैनन्।
कुर्सीमा नहँुदा डा. केसीप्रति सहानुभूति देखाउन र जायज माग भन्दै ऐक्यबद्धता टक्र्याउन अनशनस्थलमा पुग्नेहरू आफू कुर्सीमा आसिन भएपछि मौन हँुदारहेछन्। साँच्चै मुलुक समृद्ध भएको हामी हेर्न चाहन्छौं भने सबैभन्दा पहिला स्वास्थ्य र शिक्षामा नागरिकको सहज पहुँच हुनुपर्छ। हामीकहाँ पैसा धेरै हुनेमात्रै डाक्टर बन्ने अवस्था बनेको छ। पैसाको बलमा डाक्टर भएकाहरूको सेवा पनि अति नै महङ्गो हुन्छ। स्वास्थ्य जस्तो अति नै संवेदनशील क्षेत्र राज्यको नियन्त्रणमा हुनुपर्ने हो। तर कुनै पनि सरकारले कहिल्यै यसलाई प्राथमिकता दिएनन्। अहिले स्वास्थ्य क्षेत्र माफियाको नियन्त्रणमा पुग्यो। सदरमुकाम र राजधानीमै मनपरी ढङ्गले खुलेआम यो व्यवसाय चलिरहँदा कोही पनि डाक्टर दुर्गम भेगमा नजाने भए। दुर्गममा बेलैमा उपचार नपाउँदा सिटामोलसम्म पनि नपाउने अवस्था छ। डा. केसीको इमानदारिता र निस्वार्थ सेवाको यो यात्रा देखेर आज स्वास्थ्य र शिक्षाका माफिया हायलकायल छन्। उनको जीवन तलमाथि भए ठूलो मूल्य चुकाउनु पर्नेछ राज्यले, सत्ताधारीले, स्वास्थ्योपचारबाट अकुत सम्पत्ति कमाउनेहरूले। डा. केसीको जायज मागमा हामीले साथ दिन नसके पनि समर्थन गर्न नछाडौं।
– सन्तोष सिम्खडा
[email protected]

 ज्योतिष पेसा बदनाम भएपछि
गएको असार ३१ गते रत्न पुस्तकालय बानेश्वरले भानुजयन्तीको अवसरमा गरेको छन्द कविता वाचन प्रतियोगितामा सहभागी भएपछि मलाई धेरै साथीले आलोचना गर्नुभयो। उहाँहरूले मलाई आदरका हिसाबले नै त्यसो गर्नुभएको हो। राष्ट्रिय योगदानभित्र परिसकेकाले यस्ता प्रतियोगितामा सामेल हुनु आफ्नो योग्यता खस्काउनु हुँदोरहेछ। आयोजकले जसलाई पायो, उसैलाई जाँचकी राखिदिँदा छन्दभंग कविता र भरमार अंग्रेजी शब्द प्रयोग भएका कविता पनि पुरस्कृत हुँदारहेछन्। ताली पिटेको भरमा पुरस्कार दिइँदोरहेछ। ताली र छन्द धेरै फरक हो। २०७३ वैशाखदेखि हेम–गङ्गा नामक खण्डकाव्य प्रेसमा फँसेको छ, मात्रै १०–१२ हजार रुपियाँको आवश्यकताले गतवर्ष र यस वर्ष ३/४ वटा प्रतियोगितामा भिडेको थिएँ। भूकम्पमा केही ज्योतिष भनाउँदाहरूले जथाभावी भविष्यवाणी गरिदिनाले ज्योतिष पेसा बदनाम भयो। मान्छेले हेराउन पनि छाडिदिए। त्यसैले मेरो पनि कमाइ भएन र यसरी प्रतियोगितामा सामेल भएको थिएँ। अरू लहरै ३–४ कृति प्रकाशनमा बसेका बस्यै छन्। पहिले पनि यही ज्योतिषबाट आर्जन गरेको रकमबाट ९ वटा पुस्तक र २ वर्ष पञ्चाङ्ग प्रकाशन गरेको थिएँ। फेरि अनेसासको ताइवान च्याप्टरले महाकवि देवकोटाको जीवनमा आधारित महाकाव्य लेख्न अह्राएको थियो। त्यसका लागि ५० हजार रुपैयाँजति आवश्यक पर्‍यो। आफूसित एकैचोटी त्यत्रो रकम भएन र त्यो रकम जुटाउन निकै प्रयास गरेंँ, सकिनँ। मैले प्रतियोगितामा भिड्नुको अर्थ यति मात्रै हो। तर हाम्रो देश गरिब होइन, दरिद्रताको चरम बिन्दुबाट गुज्रेको महसुस भई अब फेरि लेखन स्थगित गर्ने मनस्थितिमा छु। नेपाली भाषामा दरिद्र संस्कारले नेतृत्व गरुन्जेल भाषा विकास नहुने मेरो ठहर छ। फेरि कवि भनेपछि डेरा नदिने समस्या कम चर्को थिएन। यसका बाबजुद पनि अनेक मासिक,
वार्षिक गोष्ठीमा जाने गरियो। अब कसैले पनि कुनै गोष्ठीमा आमन्त्रण नगरिदिनुहोला, किनकि यसले चिन्तन–मनन गर्ने समय खेर जाने रहेछ।
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
महाकवि देवकोटा आश्रम, काठमाडौं

 सर्वोच्चको साख
सर्वाेच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ को फैसला गर्न पटक–पटक ढिलाइ गर्दै गएकामा चितवनवासी दु:खित छन्। पछिल्लो समय त्यस वडाको विवादित ९० मतपत्रको विषयले खुबै स्थान लियो। एउटा वडाको विषयले जेठ महिना मात्र होइन, असार अनि साउन पर्खायो। निर्वाचित अन्य वडाका अध्यक्ष एवं पदाधिकारीको पनि धैर्यताको बाँध फुटिसक्यो। विषयलाई जति तन्कायो, उति नै लामो हुन्छ। च्यातिएका मतपत्रको विषयले न्यायालयमा स्थान पाइसकेपछि अन्य विषयलाई पन्छाएर त्यसको निर्णय दिन सक्नुपथ्र्यो, तर महिनौं बितिसक्यो। न्यायालयका न्यायाधीशहरू कैयन् सरुवा–बढुवा भइसके, अवस्था भने जस्ताको तस्तै छ। आखिरी न्यायालयले कसको के काम गरिरहेको छ? बुझ्न जरुरी भैसक्यो। योभन्दा बढी महत्त्वको विषय के हुनसक्छ? पहिलो चरणको मात्र होइन, दोस्रो चरणको निर्वाचन पछाडिका जनप्रतिनिधिहरू पनि नतिजा प्राप्त गरेर कार्यरूपमा
जुटिसके। कतिपय जनप्रतिनिधिले त असार मसान्तभित्रै आफ्नो वार्षिक बजेट र कार्यक्रमसमेत प्रस्तुत गरिसके। यस्तोमा यो गत्यारोधलाई सर्वोच्च अदालतले लम्ब्याउनुको पछाडि विभिन्न मनोवृत्ति लुकेको छैन भनेर कसैले स्वीकार्न सक्दैन। जनसर्वसाधारण निर्वाचन भए पनि तयारी छन्। ती मतको कुनै टुङ्गो लगाउँदा पनि उनीहरूलाई कुनै आपत्ति छैन। तर विभिन्न बहानाबाजी गर्दै असहज परिस्थिति बनाउँदै लाने हो भने न्यायालयको अलिकति बचेखुचेको साख पनि गुम्दै जाने देखिन्छ।
– गोविन्द रिमाल
गैंडाकोट नगरपालिका– ५, नवलपरासी

 करलाई प्राथमिकता
स्थानीय तहका निर्वाचित पदाधिकारीहरूले निर्वाचनताका दिएका आश्वासन पूरा गर्ने दायित्वलाई प्राथमिकता दिनुपर्ने हो। स्थानीय तहलाई संविधानप्रदत्त अधिकार प्रयोग गरी जनमुखी र जवाफदेही बनाउनुपर्ने हो। स्थानीय समस्याको पहिचान गर्दै समाधानका कार्यक्रम ल्याई जनसहभागितामूलक ढंगले अघि बढ्नुपर्ने हो। सहज, सरल सेवाप्रदायक निकायका रूपमा नगरपालिका र गाउँपालिकालाई स्थापित गराउनुपर्ने हो। लामो समयसम्म कर्मचारीहरूको संयन्त्रबाट सञ्चालित स्थानीय तहलाई जनसरोकारका विषयसँग जोडेर केही भिन्न, स्पष्ट तथा प्रशंसायोग्य सुशासन पस्कनुपर्ने हो। तर यावत कामकुरा थाती राख्दै राजधानीमा नगरपालिकाहरूले कर दुई प्रतिशतबाट बढाएर बाह्र प्रतिशत बनाएका छन्। यसले आर्थिक शोषणमात्रै गर्छ।
– श्यामसुन्दर कुइँकेल
हाँडीगाउँ, काठमाडौं

 प्रदेश नं. २ मा निराशा
६ वटा प्रदेशको स्थानीय निर्वाचन सक्काएर सत्तापक्ष सुतेर बसेको अनुभव भइरहेको छ। बीस वर्षपछि स्थानीय चुनाव हुनलाग्दा मतदाता देशले निकास र जनताले विकास पाउनेमा ढुक्क थिए। मधेसमा चुनावको उल्लास छाउँदै थियो। निर्वाचन कार्यालयले टोलटोलमा मतदाता शिक्षा दिइरेहका थिए। तर एकाएक चुनाव सारिएपछि मतदाता रुष्ट भए। दलहरू प्रचार रोकेर बसेका छन् भने आन्दोलनमा रहेका राजपाका कार्यकर्ता संविधान संशोधन हुन्छ कि भनेर आशावादी बने पनि विश्वस्त हुनसकेका छैनन्। आन्दोलन र चुनावप्रति पनि मधेसका जनता दुई कित्तामा उभिएका छन्। एकथरी जनताले पटक–पटक चुनाव सारेकामा आपत्ति प्रकट गरिरहेका छन् भने अर्कोथरीले चुनाव सार्नु वा नसार्नुमा भन्दा संविधान संशोधनलाई प्राथमिकता दिनुपर्ने भनिरहेका छन्। भोट खसाल्न र जनप्रतिनिधि छनोट गर्न आतुर रहेका जनतामा भने झनै निराशा बढेको छ।
– मैया केसी
काठमाडौं–३२, कोटेश्वर

 एउटाको नाम, सयौंले झ्वाम
२०७४ साउन ११ मा प्रकाशित देवेन्द्र भट्टराईको लेखले मान्छेले मान्छेलाई ठग्न कतिसम्म गर्छ भन्ने प्रस्ट्याउँछ। आजभोलि पनि राजधानीजस्ता सहरको चोक–चोकमा सेवा नै धर्म हो भन्ने पवित्र वाणी बेचेर मान्छेले कमाइधन्दा खुलेआम चलाइरहेका छन्। विभिन्न ठाउँमा दु:खमा परेका, विदेशी भूमिमा अप्ठ्यारामा परेका, दुर्गममा पढ्न नपाएकाहरूको नाम बेचेर सहरमा टाई–सुट लगाएर मान्छे ठग्नेहरू पाइन्छन्। डोल्मा त एक प्रतिनिधि मात्रजस्तो लाग्छ। सहरका चोकमा आधा घन्टा घुमेर हेर्नुपर्छ, हात समाउन आइपुग्छन् विभिन्न संस्थाको नाममा पैसा कमाउन पल्केका गिरोह। दुर्गममा बालबालिकाले पढ्न पाउने, विदेशी भूमिमा मृत्युदण्ड पाएकाहरू नेपाल फिर्ने जस्ता कुराले हर व्यक्ति सहयोग गर्न तत्पर हुन्छ। तर उनीहरूको रकम न दु:ख
पाएकाले पाउँछन् न पढ्न नपाएकाले। पाउँछन् त तिनै सुकिलो लुगामा सजिएका मान्छेले। एउटाको नाम राखेर दुनियाँलाई खुलेआम ठगेर बाँच्ने प्रवृत्ति कहिलेसम्म? कसले गर्ने यो लुटेरा संस्कृतिको अन्त्य?
– आश्विन समीप
ज्वालामुखी– ४, धादिङ

Page 11
विविधा

हाम्रो खाना, हाम्रो सरोकार

- कृष्णप्रसाद पौडेल

मानव सभ्यता र संस्कृतिको मूल आधार कृषिलाई कसरी बुझ्ने र व्यवहार गर्ने भन्ने कुरा अहिले सबैतिर पेचिलो सवाल बन्दै गएको छ। कृषि क्षेत्रमा विश्वव्यापी व्यापारको चासो बढेसँगै बढी नाफा कमाउने होडमा हाम्रो खानेकुरा माटोदेखि थालसम्म नै रसायन, हार्मोन र विषादीको प्रयोगले दिनदिनै प्रदूषित र विषाक्त बन्दै गएको छ। अहिले देखिएका नसर्ने दीर्घरोगहरू, जस्तै– क्यान्सर, मुटु, मिर्गौलाको समस्या, मधुमेह हुने मुख्य कारण यिनै खानेकुरासँगै जोडिएको छ। अहिले हामीले कस्तो कृषिको बाटो रोज्ने र खानाको मुख्य स्रोत कृषि क्षेत्रलाई कस्तो बनाउने भन्ने कुराको निर्णय गर्ने अधिकार स्थानीय सरकारमा सरेको छ। अर्को शब्दमा भन्दा हार्मोन, रसायन र विषादी सहितको अहिलेकै जस्तो कृषिबाट आउने मन्दविष सहितको खानेकुरा खान सुझाउने कि स्वच्छ कृषि गरी स्वस्थ खानेकुरा खान अवसर जुटाउनेतर्फ लाग्ने? रोज्ने बेला आएको छ। यो आधारभूत प्रश्नसँगै नेपालको कृषि क्षेत्रको विकास गर्ने दूरदृष्टि र रणनीतिक बाटोसमेत छुट्टिन्छ। दिगो कृषिका सिद्धान्तलाई पछ््रयाउँदै स्थानीय कृषिका समस्यालाई सम्बोधन गर्नसक्ने समग्र उत्पादन प्रणाली पुन:स्थापना गर्न स्पष्ट रणनीति सहितको कृषि प्रणाली विकास गर्नुपर्छ। यो त्यतिबेला सम्भव छ, जतिबेला हामी पारिस्थितिकीय व्यवस्थापनमा परम्परागत र वैज्ञानिक दुबै ज्ञानको समन्वयात्मक प्रयोग गरी सिक्दै र सच्याउँदै जान तयार हुन्छौं। त्यसका लागि हजारौं वर्षका अनुभवले खारिएको परम्परागत कृषि प्रणालीलाई उन्नत बनाउन द्रुतगतिमा परिवर्तन भइरहेका प्रविधि र अन्वेषणलाई उत्पादन वृद्घिका योजनासँग जोड्न सक्नुपर्छ। साथै कृषि क्षेत्रको आर्थिक तथा सामाजिक दायित्वको परिधिलाई फराकिलो बनाउँदै कृषिलाई प्राकृतिक, एकीकृत, सघन र जीवन्त प्रणालीको रूपमा आत्मसात गर्न सक्नुपर्छ।
स्थानीय सरकारले कृषि विकासको ढाँचा र नीति निर्माण गर्दा आफ्नो क्षेत्रको कृषिको अवस्थाको मात्र विश्लेषणभन्दा माथि उठेर नेपालको समग्र भू–राजनीतिक, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, भौगोलिक तथा जैविक विविधताका आयाम विश्लेषण गर्न जरुरी छ। साथै कृषि विकासका संरचना तथा नीति अन्य विषयगत विकास अवधारणासँग सिधै जोडिने हुनाले यी सबैलाई हेर्ने स्पष्ट दृष्टिकोण सहितको एकीकृत विकास योजना बनाउनुपर्छ । यस अर्थमा कृषि विकासलाई विषयगत योजनामात्र नबनाई स्थानीय सरकारको एकीकृत विकास कार्ययोजनाको रूपमा प्रस्तुत गर्नुपर्छ। यस्तो ढाँचा बनाउँदा विश्व तथा क्षेत्रीय अवस्थामा आएका आर्थिक, सामाजिक परिवर्तन र तिनका सकारात्मक, नकारात्मक प्रभावको गहन अध्ययन तथा विश्लेषण गर्नुपर्छ । अहिले समग्र कृषि क्षेत्रले भोगेका कृषिका समस्यालाई नजरअन्दाज गरेर बनाइने उच्च लगानीको कृषि प्रणालीको सोचले केही ठूला कृषि लगानीकर्ता तथा उद्यमीले व्यावसायिक लाभ लिन सक्लान्। तर साना किसान तथा सिङ्गो कृषि क्षेत्रको विकासमा नकारात्मक प्रभाव पर्नेछ। अर्को कुरा, हाम्रोजस्तो पहाडी भू–बनोटमा उच्च लगानीको रासायनिक कृषि उत्पादन र उत्पादकत्व दुवै हिसाबले लाभदायक छैन। यस्तो कृषि प्रणालीले उत्पादनको तुलनामा लागत बढ्न गई स्थानीय बजारमा नेपाली कृषि उपजले प्रतिस्पर्धा गर्न सक्दैन। बाह्य उच्च लगानीको रसायन र विषादीमा आधारित कृषि प्रणाली मानिस तथा माटोको स्वास्थ्यमा बढ्दो असरको कारक हो भन्ने मनन गर्नुपर्छ। मुख्यत: खाद्य उत्पादन प्रणाली कृषि पर्यावरणमा आधारित हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै जैविक विविधतालाई समस्याको रूपमा नभई अवसरको रूपमा लिनुपर्छ। यसो गर्नसके मात्र प्राङ्गारिक, पर्यावरणीय र स्थानीय स्रोत उपयोगमा आधारित खेतीपातीबाट कृषि पर्यावरणलाई दिगो बनाउँदै स्वस्थ खानेकुरा उत्पादन गर्ने सामाजिक उद्यमी किसानको जीवनमा समेत समृद्धि ल्याउन सकिन्छ। फेरिएको सामाजिक र आर्थिक सन्दर्भमा अहिलेकै जस्तो निर्वाहका लागि कृषि गर्ने सोचले हामीलाई समृद्ध हुन सघाउँदैन। बरु यसले किसानलाई कृषिबाट पलायन हुन सधैं बाध्य बनाउँछ।
तसर्थ स्थानीय मौलिकतामा आधारित दिगो खेतीपातीका लागि सहकारिता, व्यावसायिकता र आत्मनिर्भरतालाई प्रबद्र्धन गर्ने कार्ययोजना बनाउनु आवश्यक छ। हाम्रो खाना, जीविकाका साथै राष्ट्रिय अर्थतन्त्रको आधार खाद्य तथा कृषि प्रणालीमा सामूहिक अवसरको खोजी, योजना निर्माण तथा क्रियाकलाप र प्रस्तावना विकास गरेर दिगो खेतीपातीलाई पुन:स्थापना गर्ने जिम्मेवारी बहन गर्ने दायित्व आजको पुस्ताको काँधमा आएको छ। जैविक विविधतालाई आत्मसात गर्दै जैविक प्रादेशिकताका आधारमा खाद्यमा आत्मनिर्भर र तुलनात्मक लाभका कृषि उपजको प्रबद्र्धन गर्ने राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरका रणनीति र योजना बनाउनुपर्छ। स्थानीय तहको खाद्यान्नमा अभाव, भोकमरी तथा कुपोषण हाम्रा गरिबीका सङ्केत हुन्, जसलाई तुरुन्त सम्बोधन गर्नुपर्छ। कृषि उत्पादकत्व बढाउन र भोकमरी टार्न नसकिरहेका, स्रोत र साधन कम भएका किसानको जीविकोपार्जन चलाउने, प्रकृतिको उत्पादक क्षमता दिगो बनाउने पारिस्थितिकीय चक्रको संरक्षण गर्दै बढ्दो जनसंख्याको खाद्यान्न मागलाई पूरा गर्न गुणस्तरीय खाद्य उत्पादन कार्य थाल्नु जरुरी छ।
कृषिको प्राथमिकता स्पष्ट पहिचान गरी खाद्यमुखी तथा आयात प्रतिस्थापनका लागि तुलनात्मक लाभको कृषि अवधारणामा आधारित कृषि विकासको योजना स्थानीय स्तरमै बनाउनुको विकल्प छैन। यो त्यतिबेला मात्र सम्भव छ, जतिबेला हामी स्थानीय तहमै दिगो खाद्य तथा कृषि प्रणाली निर्माणमा ध्यान केन्द्रित गर्छौँ। यसका लागि कृषि ज्ञान, प्रविधि अन्वेषण, सेवा प्रवाहको संस्थागत कार्यप्रणाली तथा सबै क्षेत्रलाई पुनर्जीवित गर्न सकिने भू–स्रोतको दिगो प्रयोग, उपयुक्त प्रविधिको अनुकूलन तथा किसान समुदायको सक्रिय सहभागिता बढाउन आवश्यक छ। साना किसानको बाहुल्य रहेको हाम्रो मुलुकमा कृषि सहकारीको संस्थागत विकास गरी किसानको उद्यमशीलता, मूल्य शृफ्ला र आत्मनिर्भर कृषिको बाटो पहिल्याउन सकिन्छ। सहकारितामा आधारित उद्यमशीलता र उत्पादनमुखी कृषि पद्धतिले मात्र हाम्रोजस्तो कृषि अर्थतन्त्र तथा साना स्तरको खेतीपातीमा आधारित जीविकोपार्जनलाई दिगो बनाउन मद्दत पुग्छ। राज्यको कृषि सम्बन्धी नीति किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउँदै स्थानीय अर्थतन्त्र बलियो बनाउनेतर्फ उन्मुख हुनुपर्छ । स्थानीय नियन्त्रण र स्वामित्व भएको स्थानीय अर्थतन्त्रमा आधारित कृषि विकासको योजना र सोचबिना कृषिको विकास गर्न सकिँदैन। यो सुशासन र बजारसँग समेत जोडिएको छ। अहिलेको बजारकेन्द्रित अर्थतन्त्रलाई कृषिजस्तो कम नाफामूलक सामाजिक उद्यममा आकर्षण गर्न कृषिका जोखिम घटाउने स्थानीय संयन्त्रबिना सम्भव छैन। यसले के देखाउँछ भने कृषि क्षेत्रको विकासका लागि राज्य र बजारको भूमिका र दायरा अझ स्पष्ट पार्नुपर्छ। स्थानीय स्तरमा उत्पादन नहुँदा अन्य आम्दानीका स्रोत नहुने घरपरिवारको खाद्य असुरक्षा झनै बढ्छ। खाद्यान्न उत्पादन र खाद्य सुरक्षालाई स्थानीयता र संस्कृतिसँग जोडेर हेर्नुपर्छ। जैविक क्षेत्रका आधारमा उपयुक्त स्थानीय बालीको प्रबद्र्धनले अन्नपातको बजारीकरण र स्थानीय उपलब्धतामा सहजता ल्याउँछ। स्थानीय विशिष्टतामा आधारित उत्पादन प्रणालीले अहिले बढ्दै गएको जलवायु परिवर्तन जोखिम र अनिश्चिततामा निरन्तर उत्पादन लिन सक्षम बनाउँछ। यसो भनिरहँदा बिउ तथा बीज वृद्धि र यसको उत्पादनशील गुणस्तर कायम गर्न र स्थानीयता अनुकूलनता कायम राख्न आवश्यक वर्ण सुधारका अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने कुरामा दुईमत हुँदैन। जलवायु जोखिम क्षेत्रमा एकल बालीबाट बहुबाली, एक वर्षेबाट बहुवर्षे र बाहिरियाको सट्टा रैथाने बालीको उपयोग र एकीकृत खेती प्रणाली जोखिम घटाउने मुख्य आधार हुन्, जसतर्फ स्थानीय किसान र सम्बन्धित निकायहरूले व्यावहारिक कार्ययोजना बनाउन ध्यान दिन आवश्यक छ। आशा गरांै, उत्साहित स्थानीय सरकार स्वच्छ खेतीबाट स्वस्थ खाना खाने र खुसी जीवन बिताउने हाम्रो अधिकार रक्षा गर्न सक्षम हुनेछ।

विविधा

छाउपडी हटाउन कानुन

प्रा. नृसिंहकुमार खत्री

महिलाहरू महिनावारी हँुदा ५ दिन र सुत्केरी हुँदा १३ दिनसम्म कसैलाई नछुई अलग्गै गोठमा बस्नुपर्ने नेपालको पश्चिम तथा सुदूर पश्चिममा प्रचलित परम्परागत प्रथालाई छाउपडी भनिन्छ। यस अवस्थामा उक्त महिलाले अन्न, फलफूल खेतीपाती समेत छँुदैनन्। नुहाउने सफा बस्ने चलन पनि छैन। अशिक्षा र अन्धविश्वासका कारण अभिभावकले पनि यो प्रथा मान्न जोड दिने गर्छन्। जातिपिच्छे छाउ बार्ने तरिका फरक रहनु नेपालको सामाजिक जातीय विविधताको संस्कारगत विशेषता पनि हो। घरबाट अलग्गै रहेको छाउगोठमा बस्न र सुत्न गएको अवस्थामा सानो अँध्यारो कोठामा श्वास–प्रश्वासको अवरोध भएर निस्सासिने, सर्पले डस्ने, छानोबाट पानी चुहुने, आँधी–बेहरीमा असुरक्षित हुने, राति झाडा पिसाबका लागि बाहिर निस्कँदा जंगली जनावरबाट आक्रमणमा पर्ने जोखिम हुन्छ। यस्तै चिसो लागेर, संक्रामक रोग र किटाणुको कारणबाट, खाना र पोषण तत्त्वको अभाव भएर, आपराधिक प्रवृत्तिका पुरुषहरूको यौन हिंसाको सिकार भएर पनि पीडित बन्ने अवस्था आउँछ र कतिले मृत्युवरण नै गर्नुपरेको देखिन्छ। यस अवधिमा चिन्ता, डर, त्रासमा रातदिन बिताउनुपर्दा उनीहरूमा मानसिक र मनोवैज्ञानिक असर पर्छ, जो पछि गएर मनोरोगको कारण बन्छ।
समकालीन समाजले पश्चिम तथा सुदूरपश्चिम क्षेत्रमा छाउपडी प्रथालाई मान्यता दिइरहेको परिस्थिति छ। बिरामी परेका अवस्थामा धामी–झाँक्रीको भर पर्नु र उनीहरूले सबैलाई छाउ बार्ने गर भन्ने गर्नु, अभिभावकले छाउ बार्न कर लगाउनु, छाउ प्रथालाई नबारे मस्टोले आग र वाग लगाइदिन्छन् भन्ने भ्रम फैलाइदिनु आदि कारणले छाउ प्रथाले निरन्तरता पाएको देखिन्छ।
छाउपडी प्रथाको पीडा भोग्न बाध्य पहिलो पात्र रजोवति हुने महिला हुन्। उनले रजोवति भएका बेला ५ दिन र सुत्केरी भएका बेला १३ दिन भयभित बनेर छाउगोठमा बस्दामा धर्म आर्जन हुने तर नगरे धर्म नहुने मान्यता सत्य, तथ्य, वैज्ञानिक आधार भने होइन। धर्म भनेको शरीर, जीवन, स्वस्थ निरोगी र असल बनाइदिने चिन्तनबाट सुरु भएको व्यवस्था हो। शरीरलाई पीडाकष्ट हुनेगरी भयभित अवस्थामा रहेर मान्ने चलनले धर्म हुने होइन। रजोवति महिलाका लागि शरीर सफा राख्नु, शारीरिक बलको काम नगर्नु जसले गर्दा शरीरभित्र रगत बगिरहने अवस्था नहोस्, त्यसो भए शरीरमा रगतको न्युनता भएर मानिस मर्न सक्छ भनेर आराम गराउने प्रयोजनले यो प्रथा सुरु भएको पनि हुनसक्छ। यसमा समाजशास्त्रीय हिसाबले अनुसन्धान होला। तर अहिले विकृत भएको यो कुप्रथा महिला प्रत्येक महिनामा एकपल्ट ५ दिन ज्यान जोखिम राखेर बस्नुपर्ने भएकोले यथाशीघ्र अन्त्य हुन आवश्यक छ।
छाउ नबारेर बस्नेलाई अझै मस्टो देवताले आग र वाग लगाइदिन्छन् भन्नुको अर्थ मनभित्र भयभाव सिर्जना गराइदिएर अझ धामी–झाँक्री तथा रहस्यात्मक व्यवसायीलाई पनि समर्थक बनाएर त्यसबेला चलन चलाइएको र यसकै बलमा समाजले निरन्तरता दिएको हुनसक्छ। यथार्थ यो छ कि जबसम्म खराब काम गर्ने बानी वा लत बसिसकेको मानिसमा दबाब वा प्रभाव पर्दैन, तबसम्म उसले गलत, कुलत छाड्दैन। प्रथा पनि समाजको लत वा बानी नै हो। यसलाई छुटाउन कि दबाब कि प्रभाव दिइरहनुपर्छ। समाजका अगुवा, धर्माधिकारी, पण्डितहरू, धामी, पुजारी, सन्त—महन्त, आम शिक्षक, नागरिक, अधिकारकर्मी, चेतनशील, बुद्धिजीवी र मुखिया सबैले मिलेर आआफ्नो क्षेत्रबाट यो प्रथाविरुद्ध अभियान चलाउनुपर्छ। छाउपडी प्रथाले निरन्तरता पाइरहे महिलाले अनन्त कालसम्म पनि पीडित भइरहनुपर्छ। नेपालको संविधानको धारा ५१ (ञ) मा ‘जोखिममा परेका सामाजिक र पारिवारिक बहिष्करणमा परेका हिंसा पीडित महिलालाई पुन:स्थापना संरक्षण र सशक्तीकरण गरी स्वावलम्बी बनाउने नीति राज्यले लिनेछ’ भनिएको छ। त्यसकारण पनि यो प्रथा नीतिगत रूपमै सरकारले प्रतिबन्ध लगाउन आवश्यक देखिन्छ। नेपाल सरकारले छाउपडी प्रथा उन्मूलन निर्देशिका २०६४ जारी गरेको छ भने सर्वोच्च अदालतले पनि यो प्रथा रोक्न रिट निवेदक दिलबहादुर विश्वकर्मा विरुद्ध नेपाल सरकार भएको परमादेश लगायत उत्प्रेषणको मुद्दामा सरकारलाई २०६१ सालमा आदेश पनि गरेको छ। यसमा ‘यो प्रथा महिलाविरुद्ध रहेको ज्यान लिने अन्धविश्वासमा आधारित प्रथा भएको हुनाले यसविरुद्ध जनचेतना जगाउन तीन महिनाको अवधि तोकी सरकारलाई परमादेश जारी भएको’ पनि उल्लेख छ। तर कार्यान्वयन आमरूपमा हुनसकेको पाइँदैन। राणाकालमा सतिप्रथा अन्त्य गर्दा ‘धर्माधिकारीहरू राखी छलफल गर्दा आफ्नो पति मरेपछि पनि पत्नीले उनको सतित्वमा रही परिवारमा बसेमा धेरै पुण्य मिल्छ भन्ने शास्त्रको मत देखिएकाले अब उप्रान्त कोही कसैले पनि सति जानु पर्दैन, कसैले जान लगाए, बाध्य पारे उसलाई ज्यान मारे सरहको सजाय सास्ती र शासना होला’ भन्ने आदेश जारी गरिएको पाइन्छ। सरकारले पनि नियम कानुन बनाएर निर्देशित गरी छाउपडी प्रथा बन्द गराउनुपर्छ। जसलाई निरोगी, असल, सबल, सक्षम शरीर सहितको जीवन चाहिने हो, उसैले पनि आफैबाट यसविरुद्ध विद्रोह गर्न आवश्यक देखिन्छ। तर स्थानीय समाजले भने हात र साथ दिनुपर्छ। छाउपडी प्रथा अन्त्यपछिको संक्रमणकालीन विकल्प र रूपान्तरणका लागि स्थानीय तहमा सरसफाइ, परिचारिका वा नर्सको सेवा दिने सामुदायिक व्यवस्थाको विकल्प पनि गर्न उचित देखिन्छ, जसले रजोवति महिलाको शारीरिक स्वास्थ्य र सरसफाइमा सहजीकरण गर्न र सेवा दिन सहयोग मिलोस्।

विविधा

शरीरमाथिको अधिकारको बहस

- साधना प्रतीक्षा

जैविकीय अवस्थाका कारण महिलाले युगौँदेखि उत्पीडन झेल्दै आएको देखिन्छ। मानव सभ्यताको विकासक्रमलाई आधार मानेर हेर्दा समाज विकासको गतिसँगै पुरुष श्रेष्ठता र अग्रस्थानमा स्थापित भए भने महिला उनीहरूका आश्रित तथा रक्षिता बन्दै निम्न स्थानमा सीमित बनेको पाइन्छ। यसमा महिलाको जैविक अवस्थाले भूमिका खेलेको देखिन्छ। प्रजनन आदि प्रकृतिप्रदत्त विशेषताका कारण महिलालाई कमजोर मानेर आदिकालदेखिको मातृसत्ताको विस्थापन गरी पितृसत्ता स्थापित भएको धारणा एंगेल्स (द ओरिजिन अफ द फेमिली, प्राइभेट प्रोपर्टी एन्ड द स्टेट) तथा सिमोन दि वौभायर (द सेकेन्ड सेक्स) ले प्रस्तुत गरेका छन्। यी दुबै चिन्तकका विचार नारीवादी चिन्तनका समेत आधार मानिन्छन्। नारीवाद अन्तर्गत विकसित विभिन्न मान्यताले पितृसत्तालाई महिला उत्पीडनको प्रमुख कारक मान्दै त्यसबाट उन्मुक्तिको खोजीमा जोड दिएको देखिन्छ। महिलाको शरीरमाथि उसैको अधिकार हुनुपर्ने र पितृसत्ताले महिलाको यौनिकतामा नियन्त्रण गरेको विचार राख्दै त्यस विरुद्ध सशक्त आवाज उठाउने आमूल नारीवादी केट मिलेटको कृति ‘सेक्सुअल पोलिटिक्स’लाई तत्कालीन अमेरिकामा मात्र होइन, विश्वभरि नै महत्त्वसाथ हेरिएको थियो। यसै सन्दर्भमा पछिल्लो समय महिलाको शरीरमाथिको अधिकारबारे खुलेर बहस हुनथाले। महिला कुनै पनि पुरुषको सम्पत्ति वा अधीनको वस्तु नभएर एउट स्वतन्त्र अस्तित्व हो भन्ने चेतनाको विकासले महिलामाथि हुने यौन हिंसा, घरेलु हिंसा, श्रम शोषण आदिमा न्युनीकरण भएको छ। महिलाको शरीरमाथिको अधिकारका सम्बन्धमा हाम्रो समाजमा अझै खुलेर बहस हुनसकेको देखिँदैन। यसैकारण माहिला, विशेषगरी बालिका तथा किशोरीहरू यौन दुव्र्यवहारका सिकार भइरहेका छन्।
दिनहुँजस्तो अखबारका पानाहरूमा बालिका बलात्कृत भएका समाचार छापिएका हुन्छन्। हालै प्रकाशित ११ वर्षीया गर्भवती किशोरी सम्बन्धी समाचारले बालिका तथा किशोरमाथि हुने यौन उत्पीडनका कारणको खोजी गरी त्यसको न्युनीकरणतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याएको छ। अधिकांश बालिका तथा किशोरीहरू आफन्त तथा परिचित पुरुषद्वारा बलात्कृत हुने गरेको पाइन्छ। अपरिचित व्यक्ति तथा अचानक हुने यौन दुव्र्यवहारभन्दा बढी नातासम्बन्धी तथा परिचितहरूबाट बालिका तथा किशोरीहरू यौन उत्पीडनमा परेको यथार्थ घटनाको रहस्य खुलेपछिका तथ्यले देखाउने गरेको छ। उनीहरू एकपटक होइन, पटक–पटक, अझ रहस्य नखुलुन्जेल निरन्तर दुव्र्यवहार खेप्न बाध्य छन्। यस्ता यौन अपराधका लागि कडा कानुनी प्रावधान बनाउनु, दोषीलाई हदैसम्मको सजायको व्यवस्था गर्नुपर्ने आवश्यकता त छँदैछ, साथै परिवार, समुदाय तथा राज्यले गर्नुपर्ने अन्य जिम्मेवारी पनि छन्, जसले बालिका तथा किशोरीहरूलाई यस्ता दुर्घटनाबाट जोगाउन सक्छ।हामीकहाँ सहरिया तथा शिक्षित परिवेशका किशोरीहरूमा शरीरमाथिको अधिकारबारे हदभन्दा बढी सचेतता पाइन्छ। केही दिनअघि यसै पत्रिकामा प्रकाशित लेखमा अभिव्यक्त भएको एकजना डाक्टरको अभिव्यक्तिले यसलाई पुष्टि गरेको देखिन्छ। उनले आफूकहाँ गर्भपतन गराउन आएका कलिला किशोरीहरूलाई त्यसोगर्दा उनीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्ने हुनाले सानो उमेरमा यौनसम्पर्क तथा गर्भपतनबाट टाढा रहनुपर्ने सुझाव दिँदा उनीहरूले आफ्नो शरीरमाथि आफ्नोमात्र अधिकार हुने भएकाले गर्भपतन गराउन पाउने जिकिर गरेको प्रसंग अत्यन्त मार्मिक थियो। एकातिर किशोरीहरूमा यस्तो सचेतता देखिन्छ भने अर्कातिर आफ्नो शरीरलाई आफन्त वा परिचित पुरुषले कसरी दुरुपयोग गरिरहेका छन् भन्ने सचेतता नहुनाले बालिका तथा किशोरीहरू लामो समयसम्म यौनजन्य उत्पीडन झेलिरहेका छन्। शरीरमाथिको अधिकारबारे आवश्यकताभन्दा बढी सचेतता पनि घातक हुन्छ। तर त्योभन्दा कैयौँ गुणा घातक यस सम्बन्धीको असचेतता हुने गर्छ। त्यसैले अब शरीरमाथिको अधिकारबारे सचेतना अभियान तथा बहसको अवश्यकता छ।
बालिकामाथि हुने यौन दुव्र्यवहारका अधिकांश घटनामा परिवार, आफन्त, छिमेकी आदिजस्ता परिचित पुरुषको संलग्नताले के देखाउँछ भने बालिकाहरू स्वेच्छाले उनीहरूसमक्ष पुग्ने, नजिकिने अनि अन्जानमा नै यौन शोषणको सिकार हुने गर्छन्। उनीहरूलाई आफ्नो शरीर संरचना, त्यसमाथिको अधिकारबारे ज्ञान नहुनाले त्यस्ता पुरुषहरूले बदनियतपूर्वक गर्ने क्रियाकलापलाई पनि माया, आत्मीयता र खेल सम्झन पुग्छन्। अनभिज्ञताको यही खेल अन्तत: उनीहरूका लागि अभिषाप बन्ने गर्छ। खानेकुरा, खेलौना, पैसा आदिको प्रलोभनमा पारेर पनि यौनपिपासुहरूले बालिकामाथि यौन दुव्र्यवहार गरेका घटना पनि प्रशस्त देखिन्छन्। यस्ता क्रियाकलापको प्रतिकार गरेमा वा कसैलाई भनेमा परिवारका सदस्य वा बालिकाकै हत्यासमेत गरिदिने धम्की दिएका कारण डरले बालिकाहरू सहेर बसेको यथार्थ कतिपय पीडित बालिकाबाट खुल्ने गरेको छ। यही भय तथा त्रासले शोषकहरू निरन्तर शोषण गर्दै समाजमा निष्फिक्री घुमिरहेका हुन्छन्। मनमा आवेग तथा आपराधिक मानसिकता उत्पन्न भएपछि मानिसले कुनै पनि आचारसंहिता सम्झँदैन, पाप–धर्मबारे चिन्तन गर्दैन, अझ अपराध गर्नुअघि त्यसको सजायबारे पनि सोच्दैन। मनोविश्लेषक फ्रायडसँग सहमत हुने हो भने मानिस विवेक तथा चेतनाका कारणमात्र पशुबाट भिन्न भएको हो। विवेक र चेतना गुमाएको मान्छे पशुवत हुने हुनाले नै अबोध बालिकामाथि यस्तो दुव्र्यवहार गर्न उद्यत हुने गर्छ। यस्तो यथार्थमा बालिका तथा किशोरीहरूलाई विशेषगरी आमा तथा गुरुआमाले यस सम्बन्धमा सचेत गराउन सक्छन्। घरमा आमाले तथा विद्यालयमा गुरुआमाले बालिका तथा किशोरीहरूलाई मित्रवत व्यवहार गरेर उनीहरूका जिज्ञासा तथा समस्याको समाधान गरिदिने, उनीहरूको जैविकीय पक्ष, दुष्प्रवृत्तिका पुरुषहरूप्रतिको सचेतताका साथै सम्भावित परिस्थितिमा अपनाउनुपर्ने सावधानी र प्रतिकारबारे सचेत गराउन सक्छन्। आमाहरूको बेफुर्सदीका कारण उनीहरूले छोरीहरूलाई समय दिन नसक्ने अवस्था एकातिर छ भने आमाहरू स्वयम् यसबारे सचेत नभएका पनि हुनसक्छन्। हाम्रो समाजमा यौनबारे खुलेर बोल्नुलाई महिलाको चरित्रसँग जोडेर हेरिने हुनाले आममहिला यसबारे बोल्न चाहँदैनन्। यी सबै परिस्थितिको मारमा बालिका तथा किशोरीहरू पर्छन्। त्यसैले महिला तथा बालबालिकासँग सरोकार राख्ने व्यक्ति तथा संघ/ संस्थाहरूले सर्वप्रथम ग्रामीण भेगका आमाहरूलाई सचेतना दिनुपर्छ। यसबाट उनीहरू शरीरमाथिको अधिकार तथा यौनिकताका सम्बन्धमा खुलेर बहस गर्न सकुन्। उनीहरू आफ्ना छोरीहरूलाई परिचित या अपरिचित पुरुषबाट हुनसक्ने बदनियतपूर्ण क्रियाकलापबारे सचेत गराउँदै त्यस्ता कार्यप्रति प्रतिकार गर्न प्रेरित गरुन्। यसैगरी हरेक विद्यालयमा किशोरीहरूका लागि मासिक रूपमा सचेतना कार्यक्रम राख्नुपर्छ। यसका लागि विद्यालय व्यवस्थापन तथा अभिभावक दुबैको सक्रियता आवश्यक हुन्छ। महिला तथा बालबालिका मन्त्रालय र शिक्षा मन्त्रालय दुबैको आपसी समझदारीबाट यस्तो व्यवस्था गर्न सकिन्छ। निजी हुन् वा सरकारी, सहरी क्षेत्र होस् वा ग्रामीण सबैमा यस्तो कक्षा सञ्चालन गर्नुपर्छ, जसमा बालिका तथा किशोरीहरूलाई विद्यालयका प्रौढ तथा प्रभावशाली मानिएका शिक्षिकाहरूले उनीहरूको शारीरिक संरचना, किशोरावस्थाको शारीरिक परिवर्तन र जटिलता, मानसिक उतार–चढाव, त्यसप्रतिको नियन्त्रण, उनीहरूप्रति पुरुषले गर्न हुने र नहुने क्रियाकलाप, सम्भावित खतरा, त्यसप्रतिको प्रतिकार आदिबारे खुलेर जानकारी गराउनुपर्छ। सहज वातावरणमा यस्ता कार्यक्रम सञ्चालन हुने हो भने किशोरीहरूले पनि खुलेर आफ्ना समस्या राख्न तथा त्यसको समाधान पहिल्याउन सन्छन्। चेलीबेटी बेचबिखन, बालिका अपहरण, त्यसबाट जोगिने उपायबारे पनि उनीहरूलाई सचेत गराउनुपर्छ। यौन तथा प्रजनन अनि शरीरमाथिको अधिकार सम्बन्धी यस्ता बहसले बालिका तथा किशोरीहरूलाई उनीहरूमाथि हुने यौन दुव्र्यवहार र तत्जन्य उत्पीडनबाट केही हदसम्म भए पनि जोगाउन सक्नेछ।
[email protected]

विविधा

यसकारण नागपञ्चमीमा जनैपूर्णिमा

- प्रा. श्रीकृष्ण अधिकारी

हामी समस्त सनातन धर्मावलम्बी वेद, धर्मशास्त्र र तन्त्रशास्त्रका अनुयायी हौँ। हाम्रो संस्कृति र परम्पराको मूल आधार वेद हो। श्रुति, स्मृति र तन्त्रमा आधारित हाम्रो यज्ञ, वेदाध्ययन, पूजा, पाठ त्यो बेला सार्थक र फलदायी हुन्छ, जुन बेला यसलाई प्रयोग गर्नेहरूमा पवित्रता, सदाचार र शास्त्रीय मर्यादा समाहित हुन्छ। प्रत्येक व्यक्ति आफूलाई सदाचारी, पवित्र र शास्त्रानुकूल बनाउन पनि चाहन्छ। तर संसारको माया र मोहले उसलाई भुलाइदिन्छ। परिणामस्वरूप उसमा विभिन्न विकृति देखा पर्छन्। सांसारिक परिपञ्च, व्यावहारिक बाध्यता र अर्थलोलुपताले जकडिएकाले भक्ष्याभक्ष्यको विचार गर्दैन, सदाचार र सद्व्यवहारलाई लत्याउँछ, शास्त्रीय सीमाको उल्लंघन गर्छ। शास्त्र वर्जित काम गर्नाले तन, मन र जीवन नै दूषित बन्न पुग्छन्। दूषित मनले गरिएका कर्मको परिणाम पनि दूषित नै हुन्छ। सकारात्मक वा नकारात्मक सोचले जीवनका हरेक क्षेत्रलाई प्रभावित गरिरहेको हुन्छ।विशेषगरी तागाधारीका लागि वर्षदिन भरिको दुष्कर्म, दुराचार, दुव्र्यवहार र दुष्परिणामको निराकरण गरी शक्ति सम्पन्नता र सामथ्र्यशीलताका लागि गरिने गणस्नान, ऋषिपूजन, ऋषितर्पणी, उत्सर्जन, उपाकर्म, नवीन यज्ञोपवीताभिमन्त्रण, धारण र रक्षाबन्धन गर्ने कृत्यलाई जनैपूर्णिमाको कर्तव्य कर्म मानिन्छ। यज्ञयागादिमा प्रमुख रूपमा प्रयोग गरिने यज्ञोपवीत (जनै) मा पनि पवित्रता, प्रभावकारिता र शक्ति सम्पन्नता ल्याउन जनैको अभिमन्त्रण गर्ने शास्त्रीय परम्परा रहिआएको छ। कमलगट्टा, सुन, चाँदी, कपासमध्ये कुनै एकको रेसाबाट धागो निकाली जनै बनाइन्छ। धागोलाई तेब्राउने, त्यसपछि फेरि तेब्राउने, टुप्पाटुप्पीमा पवित्राकारको गाँठो बनाउने अनि यसलाई नियमानुसार शिखा पार्दा अर्थात् पवित्राकार ग्रन्थि बनाउँदा एक्ले जनै बन्छ। यस्ता २ एक्ले जनैलाई १ जनै मानी धारण गरिन्छ। उत्तरीयको सट्टा यसमा १ एक्लेसमेत थपी ३ एक्ले जनै लगाउने चलन पनि छ। शास्त्र अनुसार जनैका ९ तन्तुमा ॐकार, अग्नि, नाग, सोम, पितृगण, प्रजापति, मारुत, सूर्य र सर्वदेवता बसेका हुन्छन्। नियम अनुसार जनै लगाउनाले अभीष्ट फल प्राप्ति हुन्छ। बजारमा राखिएका जनैको पवित्रता भने कति हुन्छ, त्यो विचारणीय विषय हो।गणस्नान : मध्याहनसम्मको नित्यकर्म समाप्त गरी सबैले सुन्ने गरी उच्चारण गरी अबदेखि पाप गर्ने छैन, गरेको पापलाई परब्रह्म परमात्माले दयासाथ नष्ट गरिदिनुहोस् भनी कायिक, वाचिक र मानसिक रूपमा प्रायश्चित गर्नु नै गणस्नान हो। यसैलाई श्रावणी स्नान पनि भनिन्छ। मन्त्रस्नान, कुश, अपामार्ग, दुबोद्वारा मार्जन, प्राणायाम, सूर्यार्घ, ऋषिपूजन, देव, पितृतर्पण यसका मुख्य कर्म हुन्।ऋषिपूजन र तर्पण : अनुन्धतीसहित सप्तर्षिहरूको पूजन, तर्पण र स्मरणले पापको प्रायश्चित हुने विश्वाससाथ जनैपूर्णिमाका दिन ऋषिपूजन, तर्पण र ऋषिश्राद्धको परिपाटी रहेको छ।
उत्सर्जन : उत्सर्जनको अर्थ त्याग गर्नु वा छोड्नु हो। नित्य वैदिक मन्त्रको उच्चारण वेदपाठका अतिरिक्त स्वाध्यायको दृष्टिले वेदको मनन, चिन्तन, सस्वर पाठ आदि गर्दा शिष्य र गुरु दुबै थाक्नु स्वाभाविकै हो। त्यसैले ज्ञान/विज्ञानको अनन्त भण्डार, अपौरुषेय, परम पवित्र वेदमन्त्रलाई शस्त्र–अस्त्र अनुरूपको समेत स्मरण र आदरसाथ नमन गरी यी मन्त्रलाई परिष्कार र परिमार्जन गर्ने क्रममा तीन–चार दिनसम्म यसको परिचालनबाट अलग्गिनु वा विश्राम लिनु नै उत्सर्जन हो। त्यसैले ऋषि तर्पण र ऋषि श्राद्धपछि उत्सर्जन कर्म अन्तर्गत ‘ॐ विरता: स्म:’ भन्ने चलन छ। यसको अर्थ केही दिनका लागि हामी गुरु–शिष्य दुबै विश्राम लिन्छौँ भन्नु हो। नित्यकर्ममा भने यसको खासै प्रयोग हुँदैन।
उपाकर्म : वेदाध्ययनका लागि एकत्र भएका शिष्यको संख्यालाई आधार मानी नियमानुसार वेदाध्ययन गराउने यज्ञविशेषको नाम उपाकर्म हो। अग्निहोत्री भएको, नियमानुसार वेद पढेको, वेदाध्यापन गराउन चाहने, आचारनिष्ठ, श्रौतकर्मानुयायी सद्गुरुलाई मात्र उपाकर्म यज्ञ गराउने अधिकार हुन्छ। यसमा छात्र संख्या अनुरूप पुरोडाशस्वरूपधाना (भुटेको जौं) को संख्यालाई अभिमन्त्रित गरी शिष्यहरूलाई प्राशन गराइन्छ र दहीसमेत खुवाइन्छ। स्वाध्यायोपाकर्म वेदाध्ययनको प्रारम्भिक कृत्य हो।
जनै मन्त्रने र लगाउने : जसरी ऋषिपूजन, तर्पण, उत्सर्जन तथा उपाकर्मद्वारा वेदको मान्त्रिक शक्तिमा पवित्रता, प्रभावकारिता र शक्ति सम्पन्नतामा वृद्धि हुन्छ, त्यस्तैगरी नयाँ जनैलाई गङ्गाजल, कुशोदक, पञ्चामृत, श्रीखण्ड र अन्य सुगन्धित पदार्थले पवित्र गराई वैदिक मन्त्रद्वारा अभिषेक र अभिमन्त्रित गरी यसमा विभिन्न देवताको आवाहन, पूजन गरी शक्ति सम्पन्नता, प्रभावकारिता र सामथ्र्य सम्पन्नताको सञ्चार गरी मन्त्र शक्तिसम्पन्न गराउने कार्यलाई जनै मन्त्रने भनिन्छ। अभिमन्त्रित जनै लगाउने अर्थात् धारण गर्नेमा ब्रह्मचर्य, सदाचार सत् सामथ्र्य र तेजस्विता स्वयं प्राप्त हुन्छ। विधिपूर्वक जनै लगाउनाले भूत, प्रेत आदि अदृश्य दुष्ट शक्तिको भय हुँदैन। मनुष्य पवित्र र सामथ्र्य सम्पन्न बन्छ।जनैपूर्णिमा र नागपञ्चमी एकैदिन †
२०७४ सालको जनैपूर्णिमाको सम्पूर्ण धार्मिक कृत्य नागपञ्चमीको दिन मनाइने शास्त्रीय निर्णय भएको छ। नेपाल र भारतबाट प्रकाशित भएका पञ्चाङ्ग अर्थात् पात्रोमा यही उल्लेख छ। पूर्णिमाको दिन किन यज्ञोपवित नगरिएको? किन पञ्चमी र पूर्णिमा एकैदिन मानियो? आदि प्रश्न सर्वसाधारण धार्मिक जनमा उब्जिरहेका छन्। यसलाई सनातन धर्मप्रतिको प्रेम र आस्था मान्नुपर्छ। यी जिज्ञासाको समाधानका लागि धर्मसिन्धु, स्मृतिमहार्णव, बुद्धमनु र कात्यायन, गाग्र्य, कश्यप, मदनरत्न, हेमाद्रि र हेमाद्रौ निगमजस्ता शास्त्र तथा ऋषिमत अध्ययन गर्दा जनैपूर्णिमाका दिन ग्रहण वा संक्रान्तिको योग परेमा सबै कर्म निस्फल हुने निष्कर्षमा पुग्न सकिन्छ। त्यस्तो योग परेमा जनैपूर्णिमाको दिन गरिने कर्म नगर्नु, गरेमा अनिष्ट फल मिल्छ, दोष लाग्छ, गुरु–शिष्यको भलो हुँदैन, उपाकर्मको फल मिल्दैन, उल्टो दु:ख, कष्ट र दुष्परिणाम प्राप्त हुन्छ भन्ने विषयमा सबै ऋषिको एकमत र एकै विचार देखिन्छ। यसैले गर्दा यो वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन (साउन २३ गते सोमबार) चन्द्रग्रहण परेकाले जनैपूर्णिमामा गरिने सबै कृत्य नागपञ्चमीमा (साउन १३ गते शुक्रबार) सारिएको हो। नागपञ्चमी र जनैपूर्णिमा एकैदिन परेको भने कदापि होइन। जनैपूर्णिमामा गरिने कार्यबाहेक पूर्णिमाको व्रत, कुम्भेश्वर मेला र गोसाइँकुण्डको मेला, ह्यग्रीवोत्पत्ति आदि पर्व र मेला भने श्रावण शुक्ल पूर्णिमा (साउन २३ गते सोमबार) नै गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।

चन्द्रग्रहण राति छ, दिनमा उपाकर्म किन गर्न नहुने?
यसको उत्तरमा के भन्न सकिन्छ भने शास्त्रीय नियमानुसार जनैपूर्णिमा सम्बन्धी सबै कृत्य अपराह्न कालमा हुने र चन्द्रग्रहण हुँदा ९ घन्टा अघिदेखि ग्रहण सुतक लाग्ने हुँदा अपराह्नकाल चन्द्रग्रहणले दूषित भएका कारण जनैपूर्णिमा सम्बन्धी कृत्यमा चन्द्रग्रहणजन्य दुष्प्रभाव परेकाले ग्रहणयुक्त पूर्णिमामा उपाकर्मादि कृत्य निषेध गरिएका हुन्। अर्काे कुरा ग्रहणयुक्त पूर्णिमा पुरै दूषित भएकाले पनि यो दिन उपाकर्मादि समस्त कृत्य निषेध गरिएका हुन्। पूर्णिमाको दिन संक्रान्ति परेमा पनि यही नियम लागु हुन्छ। जनैपूर्णिमाको बिहान तीनै बजे अशास्त्रीय र अभिमन्त्रणा नगरिएको जनै तथा डोरो लिई यजमानको घरमा डोरो, जनै पुर्‍याई रक्षाबन्धन गर्ने ब्राह्मणको विषयमा त शास्त्रीय दृष्टिले आलोचना गर्नु पनि प्रायश्चित्तभागी मात्र बन्नु हो।
शास्त्रीय नेपाली परम्परा
वि.सं. १९६३, १९८२, २०२७, २०२८, २०४६ र २०४७ सालमा पनि संक्रान्ति वा ग्रहण परेका कारण जनैपूर्णिमाका समस्त कृत्य श्रावण शुक्लपञ्चमी अर्थात् नागपञ्चमीका दिन गरिएको शास्त्रीय अभिलेख ती–ती सालका पञ्चाङ्गमा स्पष्ट उल्लेख गरिएको प्रत्यक्ष प्रमाण पाइन्छ। यी सबै शास्त्रीय वचन र नेपाली परम्पराका आधारमा यो वर्ष २०७४ सालको जनैपूर्णिमा श्रावण शुक्ल पञ्चमी अर्थात् १३ गते नागपञ्चमीका दिन मनाउनुपर्ने कुराको नेपाली तथा भारतीय पात्रोमा उल्लेख भएको हो। जनैपूर्णिमामा गरिने जात्रा, उत्सव, पारिवारिक भेटघाट, राखीको कृत्य र क्वाँटी खाने जस्ता कार्य त श्रावण शुक्ल पूर्णिमा अर्थात् साउन २३ गते सोमबार नै मनाउनु व्यावहारिक तथा शास्त्रीय दृष्टिले उचित देखिन्छ।

Page 12
कला र शैली

तीज महोत्सव हुँदै

शैली संक्षेप

काठमाडौं (कास)– महिला सिर्जनशील केन्द्रले यही साउन २० गतेदेखि २५ सम्मको पाँचदिने १६ औं तीज महोत्सव आयोजना गर्ने भएको छ। केन्द्रले बिहीबार राजधानीमा पत्रकार सम्मलेन गर्दै महिलाहरूको विशेष पर्व तीजको अवसरमा त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौथो तलामा महोत्सव गर्न लागेको जानकारी दिएको हो। विगत १६ वर्षदेखि महिला सिर्जनशील केन्द्रले तीज महोत्सव आयोजना गर्दै आएको छ।महोत्सवमा महिला उद्यमीहरूले आफ्ना उत्पादित वस्तुहरूलाई प्रदर्शनीमा राख्न सक्ने केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन्। उनले भनिन्, ‘यसको मुख्य उद्देश्य नै महिला विकास र महिलाका सीपमूलक कार्यहरूलाई उजागर गर्नु हो। यो महोत्सव महिला उद्यमीहरूका लागि आफ्नो कला झल्काउने तथा आफ्ना अनुभवहरू एकआपसमा बाँड्ने प्रमुख थलो हो।’
महोत्सवले महिलाहरूलाई आफ्नो व्यक्तित्व, आत्मविश्वास एवं सकारात्मक सोचाइमा वृद्धि गराउन मद्दत गर्दै आएको छ। महोत्सवको मुख्य आकर्षणमा बारा ज्वेलर्सद्वारा हीराको खरिदमा २० प्रतिशत छुट, भीएलसीसीद्वारा फ्री छाला परीक्षण र बीएमआई परीक्षण, ब्लड टेस्ट, ब्लड प्रेसर परीक्षण, सेल्फी कर्नर आदि रहनेछन्। साथै, सनराइज
बैंकद्वारा नि:शुल्क मेहेन्दी लगाइने व्यवस्था रहेको छ। महोत्सवमा तीज तथा आउने पर्वहरूका लागि अति आवश्यक सामग्रीहरूसहित पूजाका सामग्री, हस्तकला, साडी, कुर्ता, गिफ्ट सामग्री, मेहेन्दी, होम अप्लाइन्सेस आदि सामग्रीहरूका १०० वटाभन्दा बढी स्टल रहने जानकारी दिइयो। गृहिणीहरूले दैनिक आवश्यक पर्ने सामानहरूको पनि ज्ञान पाउन सक्नेछन् भने खाना पारखीहरूका लागि विशेष तीज परिकारसहित फुड स्टलको पनि व्यवस्था रहनेछ।
तीजलाई सरस्वतीको रक
काठमाडौं (कास)– गायिका सरस्वती लामाले रक शैलीमा ‘यसपालिको तीज पनि रकमै जम्ने भो’ तीज गीत ल्याएकी छन्। आधुनिक वाद्यवादन पनि प्रयोग गरी गाइएको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। उक्त गीत परम्परागत तीज गीतभन्दा फरक छ। प्राय: लोक शैलीका तीज गीतहरू सुनिरहेका श्रोताले सरस्वतीको गीतमा फरक स्वाद पाउन सक्छन्। उनले यो गीतमा महिलाका पीडा तथा वेदनालाई समेटेकी छैनन्, उल्टो छोटा पहिरन तथा डिस्कोका कुरा गरेकी छन्। टंक बुढाथोकीद्वारा संगीतबद्ध उक्त गीतको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।

कला र शैली

मादलका चार भाइ

- सजना बराल
नाचघरमा बिहीबार आयोजित राष्ट्रिय मादलवादन प्रतियोगितामा निर्णायकका रूपमा वरिष्ठ मादलवादकहरू (बायाँबाट) न्हुच्छेबहादुर डंगोल, प्रेमदेव गिरी, अर्जुन चैनपुरे र खड्गबहादुर बूढा। तस्बिर : कान्तिपुर

 

काठमाडौं– वरिष्ठ मादलवादक प्रेमदेव गिरी आफूलाई माइलो भाइ मान्छन्। आफू छेउका न्हुच्छेबहादुर डंगोललाई जेठा र अर्जुन चैनपुरे तथा खड्गबहादुर बूढालाई क्रमश: साइँलो र कान्छो भाइका रूपमा उनले परिचय गराए।‘हामी चार भाइ यसरी भेला भएको पहिलोचोटि हो,’ गिरीले भने, ‘कस्तो राम्रो मौका मिल्यो।’ अनि, उनले हतारिँदै झोलाबाट मोबाइल झिकेर आफूहरूको सामूहिक फोटो खिचिमागे। ‘कुनै दिन किताब लेखेँ भने यो फोटो काम लाग्छ,’ दाह्री–जुँगा सेतै फुलेका गिरी अझ उत्साहित भए, ‘यो त ऐतिहासिक अवसर हो हाम्रा लागि। यस्तो मौका फेरि नआउला।’ बाँकी मादलवादकहरू पनि होमा हो मिलाइरहेका थिए। दौरा–सुरुवाल र ढाका टोपीमा ठाँटिएका उनीहरू जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा संलग्न रहेको सालका आधारमा आफूहरूलाई जेठो, माइलो छुट्टयाइरहेका थिए। ‘मैले यहाँ २०१६ देखि २०२८ सालसम्म काम गरेँ’, पद्मकन्या क्याम्पसका प्राध्यापकसमेत रहेका डंगोलले भने, ‘मपछि प्रेमजी र उहाँपछि अर्जुनजी अनि अहिले
खड्गजी आबद्ध हुनुहुन्छ।’यी चारै दिग्गज मादलवादकहरू बिहीबार आयोजित राष्ट्रिय मादलवादन प्रतियोगितामा निर्णायक हुन नाचघरमै एक ठाउँ भएका थिए। नाचघर र कल्याण शेरचन स्मृति प्रतिष्ठानले गरेको ‘नेपाली संगीतमा मादलको ताल र बोलको प्रयोग’ विषयक कार्याशाला गोष्ठीमा पनि उनीहरू सहभागी भए।‘मादल हाम्रो लोक बाजामध्येको राजा बाजा हो,’ जेठा दाइ उर्फ प्रा. डंगोलले भने, ‘तर, यसको प्रवद्र्धनमा हामी चुकिरहेका छौं। सरकारी स्तरबाट यस्ता कार्यक्रम भइरहन आवश्यक छ।’ शिक्षा मन्त्रालयअन्तर्गतको पाठयक्रम विकास समितिको सदस्यसमेत रहेका डंगोलले मादललाई मूल विषयका रूपमा अगाडि ल्याउन आफूहरूले पहल गरिरहेको बताए। मादलवादक खड्ग बूढाले भने बाजा सिक्नेहरू प्रशस्तै भए पनि तिनले रोजगारी नपाएकोप्रति ध्यानाकर्षण गराए। ‘आजकल रेकर्डिङमा पनि मादल कमै प्रयोग हुन्छ,’ उनले भने, ‘लोक बाजा संरक्षण गर्नु हाम्रो दायित्व हो भन्ने बिर्सिनु भएन।’ नेपाली संगीतमा मादलवादनको स्थिति दयनीय रहेको सुनाउँदै उनले थपे, ‘मादलको सट्टा इलेक्ट्रोनिक म्युजिक राखिदिनाले गीतको गुणस्तर त सोत्तर हुने नै भयो, वाद्यवादक पनि हिस्स पर्नु परिरहेको छ।’ विसं २०४३ देखि मादलवादन सिकाउँदै आएका अर्जुन चैनपुरेचाहिँ अहिलेका युवा पाश्चात्य संगीतमा बढी मोहित भएको देखेर छक्क छन्। आफूले विदेशीलाई समेत मादल बजाउन सिकाएको भन्दै उनले आफूलाई बरु विदेशीले चिन्ने तर नेपालीले वास्ता नगरेकोमा चित्त दुखाए। ‘मेरो जीवन संघर्ष र संगीतमै गुज्रिरहेको छ,’ कार्यक्रमको लागि भनेर पोखराबाट राजधानी आइपुगेका उनले भने, ‘मादल मेरो प्राण, पौरख सबै हो। मभित्र मादल र मादलभित्र म छु जस्तो लाग्छ।’
सुर्खेतदेखि निम्त्याइएका गिरीले भने मादललाई नेपालीहरूको जीवन पद्धति भन्न रुचाए। ग्रामीण क्षेत्रमा यो अझै पनि समाजको अंग रहेको उनले बताए। ‘आदिम युगदेखि नै हामीकहाँ मादल बजाउन थालिएको हो,’ उनले भने, ‘कुनै आँगनबाट बजाउन थालिएको यो बाजा क्रमिक रूपमा विकास हुँदै गयो। यो हाम्रो राष्ट्रिय लोक पहिचान हो।’ प्रत्येक नेपालीले कम्तीमा एउटा लोक बाजा बजाउन सिक्नुपर्ने गिरीको मान्यता छ। भने, ‘देशको चिनारी भाषा, भेष, साजबाजमा निर्भर हुन्छ। प्रत्येक नेपालीले कम्तीमा कुनै एउटा लोक बाजा बजाउन जाने भने राम्रो हुन्छ।’

कला र शैली

कविता कन्सर्ट

- नारायण खड्का

अस्ट्रेलिया– सांगीतिक कन्सर्टहरू मात्र हँुदै आएको अस्ट्रेलियामा पहिलोपटक कविता कन्सर्ट भएको छ। कविता कन्सर्टमा सहभागी थिए कवि नवराज पराजुली र बाँसुरीवादक सम्यक महर्जन।
कवि पराजुलीले क्यानबेरा, सिडनी र पर्थमा साहित्यिक कन्सर्ट सकेका छन्। अन्य सहरमा हुनै बाँकी छ। ‘सगरमाथाको गहिराइ’ कविता संग्रहका सर्जक उनको सांगीतिक कविता प्रस्तुति दर्शकश्रोताहरूका लागि रोचक बन्यो। मेलबर्नको सोलाञ्चर समूहले भित्र्याएको पहिलो कविता कन्सर्टबाट यहाँका दर्शकश्रोताले भरपुर मनोरञ्जन लिए।
तीन सहरमा कार्यक्रम सकेपछि पराजुली र महर्जन मेलबर्न, ब्रिसबन र एडिलेडमा प्रस्तुत हुँदै छन्। २०४ औंं भानु जयन्तीको अवसर पारेर आयोजना गरिएको यो कार्यक्रमलाई यहाँका दर्शकले अत्यन्तै मन पराएको आयोजकले बतायो। युवाकवि पराजुलीले ‘हेप्पी बर्थडे’ कविता सुनाउँदा दर्शकश्रोताहरू भावुक बनेका थिए। उनका ‘खोया,’ ‘सगरमाथाको गहिराइ’ कविता पनि बढी रुचाइए।
‘कविताको कन्सर्ट पनि सांगीतिक कन्सर्टभन्दा रमाइलो हुन्छ भन्ने थाहै थिएन,’ सिड्नीका आयोजक अनेसासका महासचिव महेश्वर शर्माले भने।

Page 13
Page 14
विदेश

विहारको मुख्यमन्त्रीमा पुन: नीतीश कुमार

नयाँदिल्ली (एजेन्सी)– बुधबार मात्रै पदबाट राजीनामा दिएका नीतीश कुमारले पुन: विहारको मुख्यमन्त्रीमा शपथ लिएका छन्। राजीनामा दिएको १२ घण्टा पनि नबित्दै उनी पुन: विहारको मुख्यमन्त्री बनेका हुन्। उनी विहारको २२ औं मुख्यमन्त्री बनेका हुन्। नीतीशसँगै भारतीय जनता पार्टी (भाजपा) का सुशीलकुमार मोदीले उपमुख्यमन्त्रीको शपथ लिए। उनीहरूलाई राजनाथ भवनमा विहारका गभर्नर केशरीनाथ त्रिपाठीले शपथ गराएका हुन्।
छैटौंपटक मुख्यमन्त्री बन्न नीतीशले भारतीय जनता पार्टी (भाजपा) को समर्थन जुटाएका हुन्। नीतीशले सन् २०१५ को निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपालाई हराएका थिए। दुवै जनाले संवैधानिक व्यवस्थाअनुसार शुक्रबार नै
संसद्मा विश्वासको मत लिनुपर्नेछ। नीतीशले भाजपासँगको सन् २०१३ मा छुटेको सम्बन्ध पुन: स्थापित गरेका छन्। नयाँ गठबन्धन सन् २०१९ मा हुने लोकसभा निर्वाचनसम्म कायम रहनेछ। मुख्यमन्त्री नीतीशले विकसित राजनीतिक घटनाक्रमले महागठबन्धन सरकार सञ्चालन गर्न गाह्रो भएको कारण देखाएर राजीनामा दिएका थिए। साथै, उनले ‘अन्तर–आत्माको आवाज’ सुनेर राजीनामा दिएको बताएका थिए। गठबन्धनको प्रमुख राष्ट्रिय जनता दलका नेता तथा उपमुख्यमन्त्री तेजस्वी यादवलाई भ्रष्टाचारको आरोप लागेपछि उनले राजीनामा दिएका थिए।
सरकारको पूर्वसहयात्री राष्ट्रिय जनता दलका नेताले भने नीतीश कुमारले आफूहरूलाई छल गरेको आरोप लगाएका छन्। राष्ट्रिय जनता दलका नेता तथा पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले नीतीशले भाजपासँग साँठगाँठ गरेर आफ्नो पार्टीको छवि बिगारेको आरोप लगाए। लालु यादवका छोरा तथा उपमुख्यमन्त्री तेजस्वीमाथि भ्रष्टाचारको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गर्ने तयारी गरिरहेको छ। तर उनले आफू निर्दोष रहेको दाबी गरिरहेका छन्।

Page 15
अर्थ वाणिज्य

गरिब र विपन्नलाई नि:शुल्क स्वास्थ्य बिमा

- यज्ञ बञ्जाडे

काठमाडौं– गरिब, विपन्नलगायत लक्ष्यित वर्गलाई नि:शुल्क स्वास्थ्य बिमा सुविधा पाउने व्यवस्था हुन लागेको छ। ‘स्वास्थ्य बिमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४’ मा गरिब, विपन्नलगायत लक्षित वर्गको स्वास्थ्य बिमाबापतको रकम केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारले व्यहोर्ने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ। सामाजिक न्याय र सुरक्षा कार्यक्रमअन्तर्गत तहगत सरकारमार्फत यस्तो सुविधा दिन लागिएको हो। उक्त विधेयक व्यवस्थापिका संसद्मा विचाराधीन छ। संसद्बाट पारित भएको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कानुनी मान्यता पाउँछ।
‘उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए पनि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले आर्थिक रूपले विपन्न तथा गरिबलगायतका लक्षित वर्गको योगदान रकमबापतको रकम तोकिएबमोजिम व्यहोर्नेछ,’ विधेयकको दफा ७ को उपदफा २ मा भनिएको छ।
गरिब, विपन्नलगायत लक्षित वर्गका नागरिकहरूमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनुका साथै यो कार्यक्रममा सहभागी गराउने उद्देश्यले उनीहरूको बिमाबापतको रकम नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले व्यहोर्ने व्यवस्था प्रस्ताव गरिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले बताए। मुलुक संघीय संरचनामा गएपछि स्वास्थ्य बिमा कार्यक्रममा सबै तहका सरकारलाई जिम्मेवार बनाउनुका साथै उनीहरूको सक्रिय सहभागिताका लागि उक्त व्यवस्था गरिएको लोहनीको भनाइ छ। ‘हाम्रो उद्देश्य आफ्नो कार्यक्षेत्रभित्र सञ्चालन हुने स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धमा त्यहीँको सरकार जिम्मेवार र जवाफदेही बनोस् भन्ने हो,’ उनले भने। लक्षित वर्गको योगदानबापतको रकम सरकारले व्यहोर्ने सामाजिक न्याय तथा सुरक्षाको हिसाबले उपयुक्त हुने उनले बताए। यसकारण सरकारको सक्षमताअनुसार रकम व्यहोर्ने गरी नियमावलीमा व्यवस्था गर्न प्रस्ताव गरिएको छ। ‘गरिब, विपन्नलगायत लक्षित समुदायले नि:शुल्क रूपमा स्वास्थ्य बिमा सुविधा पाउनुपर्छ तर स्थानीय सरकारको क्षमताअनुसार त्योभन्दा बढी सुविधा पनि दिन पाउने छुट सरकारलाई छ,’ उनले भने। पछिल्लो तथ्यांकअनुसार नेपालमा कुल जनसंख्यामा निरपेक्ष गरिबको संख्या २१.६ प्रतिशत छ। यसका आधारमा आधारभूत आवश्यकता नपुगेका गरिबको संख्या करिब ५७ लाख २२ हजार छ। ०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिको भारतीय नाकाबन्दीले पनि हजारौं मानिसलाई गरिबीको रेखामुनि झारेको अनुमान छ। नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएपछि सबै गरिब तथा विपन्नले उक्त सुविधा पाउँछन्।
यस्तै सरकारको गत आर्थिक वर्ष २५ जिल्लामा गरिब घरपरिवार पहिचान कार्यक्रम सम्पन्न गरेको छ। ती जिल्लाका १२ लाख घरपरिवारमध्ये ३ लाख ५६ हजार ४ सय १८ घरपरिवार पहिचान भएको सरकारी तथ्यांक छ। यसैगरी चालु आर्थिक वर्षमा पहिचान भएका घरपरिवारलाई गरिबको परिचयपत्र वितरण गर्ने र बाँकी ५० जिल्लामा गरिब घरपरिवार पहिचान गर्ने सरकारको योजना छ। विधेयकमा सबै सरकारी कर्मचारी (राष्ट्र सेवक व्यक्ति) तथा वैदेशिक रोजगारीमा जाने कामदारको परिवारले अनिवार्य रूपमा स्वास्थ्य बिमा गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। ‘प्रचलित कानुनबमोजिम राष्ट्र सेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ,’ विधेयकको दफा ३ को उपदफा ४ मा उल्लेख छ। ०७२ चैत देखि नमुनाका रुपमा कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो। त्यसपछि विभिन्न चरणमा गरि बाग्लुङ, इलाम, बैटडी, अछाम, पाल्पा, कास्की, म्याग्दी, जुम्ला, जाजरकोट, तनहु, गोर्खा, चितवन, मकवानपुर र भक्तपुरमा उक्त कार्यक्रम विस्तार भएको छ।
आउँदो तिन वर्ष भित्र सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम पुर्‍याउने सरकारको योजना छ। सरकारले सामाजिक स्वास्थ्य सुरक्षा समितिमार्फत उक्त कार्यक्रम सञ्चालन भइरहेको छ। उक्त कार्यक्रम अन्तरगत हालसम्म १ लाख ३ हजार सर्वसाधारण लाभान्वित भएको समितिका कार्यकारी निर्देशक लोहनीले बताए।
सरकारले आर्थिक वर्ष ०७३/७४ मा २५ जिल्लामा स्वास्थ्य विमा कार्यक्रम विस्तार गर्ने लक्ष्य तय गरेको थियो। तर, असारसम्म १५ वटा जिल्लामा मात्र विस्तार भएको छ। चालू आर्थिक वर्षमा थप २३ गरी ३८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम पुर्‍याउने सरकारको योजना छ।
यो कार्यक्रमअन्तर्गत एउटा बिमा पोलिसीमा परिवारका सबै सदस्यको स्वास्थ्य बिमा समावेश गरिएको छ। यसका लागि सर्वसाधारणले पाँचजनाको परिवारसम्मका लागि वार्षिक २ हजार ५ सय रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ। उक्त बिमाबाट ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार खर्च पाइन्छ। यदि परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए ती सदस्यहरूको स्वास्थ्य बिमाका लागि प्रति सदस्य ४ सय २५ रुपैयाँ बिमा शुल्क तिर्नुपर्ने हुन्छ। हाल उक्त कार्यक्रमबाट करिब १ करोड रुपैयाँ शुल्क संकलन भएको लोहनीले बताए।

अर्थ वाणिज्य

यो कसरी हुन्छ?

स्वास्थ्य बिमा सरकारद्वारा सञ्चालित बिमा कार्यक्रम हो। पैसाको अभावमा मानिसहरू मर्न नपरोस्, बिरामी परेको समयमा राम्रो अस्पतालमा उपचार गर्न र आवश्यक औषधि किन्न सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो। स्वास्थ्य बिमा सेवा लिनका लागि नागरिकले जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यालयमा गई सदस्य बन्नुपर्छ। सदस्य बनेपछि एउटा परिवारले एक वर्षका लागि २ हजार ५ सय रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ।
परिवार संख्या ५ जनाभन्दा घेरै भएमा बढी सदस्यको प्रतिव्यक्ति ४ सय २५ का दरले शुल्क तिर्नुपर्छ। यसरी गरिएको बिमाबापत बिमितले बढीमा ५० हजार रुपैयाँसम्मको औषधि उपचार सुविधा पाउँछन्। उक्त रकम पाउनका लागि सम्बन्धित अस्पताल, स्थानीय सरकारी संयन्त्रको सिफारिस चाहिन्छ।

 

अर्थ वाणिज्य

ग्यास उद्योग शाखा खोल्न चलखेल

- राजु चौधरी

काठमाडौ– ग्यास प्लान्ट गाभेर बजार व्यवस्थित गर्ने बताइरहेको आयल निगमले भित्रभित्रै हाल सञ्चालित उद्योगलाई शाखा खोल्न दिएको खुलेको छ। संसदीय समितिले समेत थप ग्यास उद्योग नथप्न दिएको निर्देशन उल्लंघन गर्दै निगमले १७ उद्योगलाई शाखा थप्न अनुमति दिएको हो।
‘ग्यास उद्योगलाई व्यवस्थित बनाउन अध्ययन गरेर मात्रै दुर्गममा सञ्चालनको अनुमति दिन समितिको निर्देशन थियो। तर, अध्ययनबिनै उपत्यका केन्द्रित शाखा खोल्न अनुमति दिएको छ,’ निगमका एक अधिकारीले भने, ‘निर्देशनको अवज्ञा गर्दै हतार–हतार उपत्यकामा बिक्री गर्ने गरी अनुमति दिनु ठूलो चलखेल हुन सक्छ।’ निगमको तथ्यांकअनुसार एक वर्षको अवधिमा १७ वटा ग्यास उद्योगले शाखाको अनुमति पाइसकेका छन्। १७ वटामध्ये ८ वटा शाखा धादिङमा खुल्नेछन्। अनुमतिका लागि एउटा उद्योगबाट ८ देखि १५ लाख रुपैयाँ असुल भएको उद्योगीहरूको दाबी छ।
मुलुकभरि ५५ वटा ग्यास उद्योग छन्। हाल सञ्चालनमा रहेका अधिकांश उद्योग उपत्यका केन्द्रित छन्। ती उद्योगलाई व्यवस्थित गर्न ग्यास उद्योग मर्ज गरेर निगमको लोगो राखेर ग्यास बिक्री गर्ने सरकारी योजना थियो। संसद्को उद्योग वाणिज्य तथा
उपभोक्ता हित समितिले पनि ग्यास उद्योग धेरै भएको जनाउँदै शाखाका लागि अनुमति नदिन निर्देशन दिएको थियो। समितिले आवश्यकता भएको क्षेत्र अध्ययन गरी प्रतिवेदन बुझाउन भनेको छ। तर, समितिको निर्देशन विपरीत आपूर्ति मन्त्रालय र आयल निगमले चलखेल गरी स्वीकृति दिएको निगमकै अधिकारीहरू बताउँछन्।उद्योगीहरू पनि शाखा खोलेर ग्यास आयात गरी वितरण गर्न आवश्यक प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) लिन रकम बुझाउनुपरेको दाबी गर्छन्। ‘शाखाको अनुमति लिन नगद करिब ८ लाख बुझाएको छु,’ एक ग्यास उद्योगीले भने, ‘नगदबिना कुनै काम हुँदैन।’ ती व्यवसायीका अनुसार शाखा अनुमतिका लागि प्रत्येक उद्योगसँग मोलमोलाइ गरेको थियो। १७ उद्योगबाट १ करोड ७५ लाखभन्दा बढी रकम उठाएको अर्का एक उद्योगीले बताए। ती अधिकारीका अनुसार नयाँ उद्योग खोल्नका लागि सञ्चालक समितिबाट स्वीकृति गराउनुपर्छ। तर, शाखाका लागि महानिर्देशक/कार्यकारी निर्देशकको एकल निर्णयले दिन सकिन्छ। निगमका कार्यकारी निर्देशक गोपाल खडकाले निर्णय गरेर अनुमति दिएको निगमका अधिकारीहरू बताउँछन्। उद्योग विभागबाट लाइसेन्स प्राप्त गरेपछि पीडीओ अनुमतिका लागि निगमसँग स्वीकृति माग्नुपर्छ।
निगमका एलपी ग्यास विभाग निर्देशक दीपक बरालका अनुसार नयाँ ग्यास उद्योग अनुमति भने रोक्का नै छ। कुनै व्यवसायीले नयाँ ग्यास उद्योगका लागि स्वीकृति लिन खोज्दा एलपी ग्यास उद्योग संघले विरोध गर्दै आएको छ। जाानकारहरूका अनुसार शाखा खोल्नु भनेको नयाँ उद्योग सञ्चालन गर्नुसरह हो।
शाखा सञ्चालन गर्दा सबै पूर्वाधार रिफिलिङ प्लान्ट, सुरक्षाका उपकरण सबै अपनाउनुपर्छ। तर, संघको समेत मिलेमतोमा भित्रभित्रै शाखा सञ्चालनको अनुमति लिएका हुन्। निगमले पनि लाखौं रुपैयाँ माग्ने गरेको अर्को एक उद्योगीले बताए। ‘अनुमतिका लागि स्वीकृति माग्दा सीधै पैसा माग्ने गरेका छन्। अराजकता धेरै छ। नीति/नियममा चल्न सकेको छैन,’ ती उद्योगीले भने।
ग्यास बिक्रेता महासंघका महासचिव चन्द्रबहादुर थापाले ग्यास खपत र आवश्यकताको आधारमा मात्रै स्वीकृति दिनुपर्ने बताए। नयाँ उद्योग र शाखा दुवै रोक्नुपर्ने उनले बताए। ‘भारतमा करिब ४ वटा मात्रै ग्यास बोटलिङ कम्पनीहरू छन्। नेपालको हकमा जनसंख्या थोरै छ तर ग्यास कम्पनी ५५ वटा छन्। केही कम्पनी अनुमतिको पर्खाइमा छन्,’ महासचिव थापाले भने, ‘सरकारले एकातर्फ नयाँ सञ्चालन गर्न नदिने भन्दै आएको छ। अर्कोतर्फ शाखाको नाममा जिल्लामा खोल्ने तयारी गरिरहेको छन्। नयाँ उद्योग र शाखा दुवै रोकिनुपर्छ। कुन क्षेत्रमा प्लान्ट छ, छैन। त्यसको अध्ययन विश्लेषण गर्न आवश्यक छ।’
हाल बोटलिङ प्लान्टहरू उपत्यका केन्द्रित छन्। नयाँ–नयाँ कम्पनी थपिँदा उपभोक्ताले बढी सिलिन्डर मौज्दात राख्नुपर्ने अवस्था सिर्जना हुने उपभोक्ता अधिकारकर्मीहरू बताउँछन्। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले राजनीतिक दलले निगमलाई दुहुनो गाई बनाएको आरोप लगाए। गुण र दोषको आधारमा व्यवस्थापनले कारबाही गर्ने अधिकार नभएसम्म निगम मागी खाने भाँडोका रूपमा रहिरहने बताए। ‘हरेक उद्योगीबाट १० लाखको दरले रकम उठाएको जानकारी पाएका छौं,’ अध्यक्ष महर्जनले भने, ‘पैसाबिना निगमले अनुमति दिएको छैन।’
निगमका निर्देशक बरालले ग्यास उद्योगका रूपमा दर्ता भएकाले शाखा खोल्न पाइने बताए। शाखाका लागि उद्योग विभागले अनुमति दिन्छ। सोहीअनुसार निगमले पनि पीडीओको अनुमति दिने उनले बताए। ‘यसलाई व्यवस्थित बनाउन विनियमावली परिमार्जनको तयारी गरिरहेका छौं,’ उनले भने।
अनुमति पाएकाको सूची
उद्योगको नाम हालको ठेगान अनुमति पाएको स्थान
गौरीशंकर ग्यास (हिमाल) साँगा, काभ्रे धादिङ
हिमालयन पेट्रो केमिकल्स गैंडाकोट, नवलपरासी धादिङ
कोसी ग्यास उद्योग दुहबी, सुनसरी धादिङ
लुम्बिनी ग्यास उद्योग गैंडाकोट, नवलपरासी धादिङ/नुवाकोट
नारायणी ग्यास उद्योग खैरहनी, चितवन धादिङ/नुवाकोट
नेपाल ग्यास उद्योग बालाजु,काठमाडौं बाँके/कोहलपुर
एनएल ग्यास उद्योग डुमरवाना, बारा धादिङ
नोबेल ग्यास उद्योग नकटाजिज,धनुषा धादिङ
ओम ग्यास उद्योग सिम्ले,धादिङ मकवानपुर
राजधानी ग्यास उद्योग मुकुन्दपुर, नवलपरासी, धादिङ/नुवाकोट
सगरमाथा ग्यास उद्योग बनेपा, काभ्रे रूपन्देही
सहारा ग्यास इन्डस्ट्रिज बासामाडी, मकवानपुर कैलाली/बाँके/ तनहँु
सुगम ग्यास उद्योग सुनसरी,भादगाउँ सिनुबारी सुनसरी
उग्रचण्डी ग्यास उद्योग खैरहनी, चितवन काभ्रे
भेरी ग्यास उद्योग नेपालगन्ज, बाँके धनगढी
नेपाल ग्यास (नारायणी) सिमरा धनुषा
एनएल ग्यास उद्योग डुमरवाना, बारा तनहुँ
स्रोत : नेपाल आयल निगम

 

अर्थ वाणिज्य

परिसूचक बढ्यो, कारोबार रकम घट्यो

- कान्तिपुर संवाददाता

काठमाडौं– साताको अन्तिम दिन (बिहीबार) समग्र नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। उक्त दिन नेप्से परिसूचक साढे १ अंकले बढेर १ हजार ६ सय ४६.५३ विन्दुमा पुगेको छ। तर, कारोबार रकममा भने १३ करोड रुपैयाँले कमी आएको छ। बुधबार १ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। बिहीबार १ अर्ब १६ रुपैयाँ बराबरको मात्र कारोबार भएको नेप्सेले जनाएको छ। आठ समूहअन्तर्गतका कम्पनीको सेयर करोबार भएको बजारमा बंैकिङ, होटल, विकास बैंक, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको परिसूचक बढे। जलविद्युत्, वित्त कम्पनी र बिमा समूहको परिसूचक घटे। घट्नेभन्दा बढ्ने समूहको परिसूचक बढी भएपछि समग्र नेप्से झिनो अंकले सकारात्मक बनेको हो। ९ हजार ९३ कारोबारबाट १ सय ५० कम्पनीका १८ लाख ५३ हजार ६३ कित्ता सेयर किनबेच भए। योसँगै सेयर बजारको आकार (बजार पुँजीकरण) १९ खर्ब ३१ अर्ब रुपैयाँ कायम भएको छ। नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.१३ र कारोबारमा आएका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक ०.२६ प्रतिशतले सकारात्मक रहे। बिहीबार उत्पादन तथा प्रशोधनको २.०९, विकास बैंकको १.१४, बैंकिङको ०.४३, होटलको ०.२९ र ‘अन्य’ को ०.०८ प्रतिशतले बढे। तर, जलविद्युत् समूहको परिसूचक १.०८, वित्त कम्पनीको ०.१ र बिमाको १.६३ प्रतिशतले ऋणात्मक रहे।

Page 16
अर्थ वाणिज्य

पञ्चेश्वरको डीपीआर अन्तिम चरणमा

- भवानी भट्ट

कञ्चनपुर– बहुचर्चित पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको छ। पञ्चेश्वर विकास प्राधिकरणका अनुसार डीपीआर अन्तिम रूप दिनुअघि ऊर्जा र जलस्रोत क्षेत्रका विज्ञको टोली आयोजना स्थलको भ्रमण गरेर फर्किएको छ।
०१६ मा दिल्लीमा भएको गभर्निङ बडी (सञ्चालक समिति) को बैठकले पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिनका लागि दुवैतर्फका विज्ञको संयुक्त टोली बनाउने सहमति भएको थियो। गठन भएको संयुक्त टोलीमा नेपालका तर्फबाट सहभागी हुने विज्ञहरूले आयोजनास्थलको अवलोकन तथा निरीक्षण गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गुरुङले बताए।
गत शुक्रबारदेखि आइतबारसम्म आयोजनास्थलनको अवलोकन र निरीक्षण भएको गुरुङले बताए। टोलीमा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारी, सहसचिव माधव बेल्बासे, जलस्रोतविज्ञ महेश्वर श्रेष्ठ, ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना र खानी तथा भूगर्भ विभागका उपनिर्देशक राजेन्द्र भण्डारीसहित ९ जना विज्ञ र प्राधिकारणका पदाधिकारी रहेका थिए। टोलीले पञ्चेश्वर निर्माणस्थलको नेपाल र भारत दुवैतर्फ अवलोकन गरेको उनले बताए।
‘डीपीआरलाई अन्तिम रूप दिनुअघि यहाँको अवस्था बुझ्न विज्ञहरूको टोली आयोजना स्थल पुगेको हो,’ गुरुङले भने, ‘यहाँको अवस्था बुझेर डीपीआरमा आवश्यक सुझाव दिएर परिमार्जन गर्न सहज हुन्छ, त्यसका लागि फिल्डमै पुगे उचित हुने देखियो।’ विज्ञहरूको टोलीले तुइनबाटै महाकाली नदी तरेर नेपालतर्फ भौगर्भिक अध्ययनका लागि बनाइएका परीक्षण सुरुङहरूको समेत निरीक्षण तथा आवश्यक जानकारी लिएको उनले बताए। टोलीलाई आयोजनास्थलको अवस्था, प्रभावित क्षेत्र र बाँध निर्माणस्थलबारे डीपीआर बनाएको भारतीय परामर्शदाता कम्पनी वापकोसका टिम लिडर श्यामसुन्दर गोदराले आवश्यक जानकारी गराएका थिए। वापकोसले आयोजनास्थलमा माटो परीक्षण, प्रभावित क्षेत्रको पहिचानलगायतका अध्ययनहरू गरिरहेको छ। वापकोसले निर्माण गरेको डीपीआरको ड्राफ्टमा प्राधिकरणले पनि आवश्यक सुझाव दिएर परिमार्जन समेत भइसकेको उनले बताए। ‘हालसम्म कुरा मात्र भइरहेको थियो, अब काम अघि बढ्न थालेको छ,’ उनले भने, ‘दुवैतर्फ पञ्चेश्वरका बारेमा हलचल भइरहेको छ।’ यसैबीच भारततर्फका विभिन्न ठाउँमा विस्तृत वातावरणीय अध्यनका लागि सूचनासमेत प्रकाशित भइसकेको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रका जिल्लामा कम्तीमा एक सार्वजनिक सुनवाइ गर्ने प्रावधानअनुसार उत्तराखण्डको चम्पावत, पिथौरागढ र अल्मोडामा एक/एक सार्वजनिक सुनवाइका लागि सूचना प्रकाशित गरिएको हो। चम्पावत, पिथौरागढ र अल्मोडामा क्रमश: अगस्ट ९, ११ र १७ मा सार्वजनिक सुनुवाइ गरिनेछ। उक्त क्षेत्रका बासिन्दाले प्रभावित क्षेत्रमै सार्वजनिक सुनवाइ गरिनुपर्ने माग राखेका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए। पञ्चेश्वर निर्माणपछि प्रभावित हुने भारततर्फका महाकाली तटीय क्षेत्रका बासिन्दाले उचित पुन:स्थापना र रोजगारीको मागसहित आन्दोलन गरिरहेका छन्।

अर्थ वाणिज्य

बढनी नाकामा कडाइ

कपिलवस्तु (कास)– भारतीय सुरक्षाकर्मीले बढनी नाकाबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकको जाँचमा कडाइ गर्न थालेका छन्। उनीहरूले उक्त नाकाबाट भित्रने ट्रकलाई जाँच गर्नुपर्ने भन्दै ढेवरुवा थानामा लामो समयसम्म रोक्ने गरेका हुन्। मालबाहक ट्रकलाई भारतीय सुरक्षाकर्मीले जिल्लाको कृष्णनगर नजिकै सीमामा लामो समय रोक्दा यहाँका उद्योग, व्यवसाय प्रभावित बनेका छन्। त्यहाँ तीन दिनदेखि मालवाहक ट्रक रोक्दा ३ किलोमिटर लाइन बनेको छ। बिहीबार साँझसम्म करिब ३ सय ५० ट्रक सडक छेउमा रोकिएका छन्। सीमा नाका बढनीदेखि थानासम्म गाडीको लाम लागेको छ। यसले बढनी बजारमा ट्राफिक समस्या बढेको छ। साँघुरो बाटो हुँदा आवतजावतमा कठिनाइ भइरहेको छ। रकम असुल्ने नियतले भारतीय सुरक्षाकर्मीले दु:ख दिन थालेको नेपाली व्यवसायीले आरोप लगाएका छन्। पैसा दिने ट्रकलाई छिट्टै छाड्ने र नदिनेलाई सीमामै रोकिराखेर अनावश्यक तनाव दिने गरेको व्यवसायीले सुनाए। ‘नत्र रोक्नुपर्ने कुनै कारण छैन,’ कृष्णनगर उद्योग वाणिज्य संघ अध्यक्ष गुरुशरण सिंहले भने, ‘यसअघि नरोकिने हाल मात्र आएर रोक्दा दु:ख दिने नियत देखिन्छ।’ अनावश्यक बस्नुभन्दा पैसा हुने ट्रक चालकले रकम दिएर उम्किने गरेको उनले दावी गरे। ‘यसअघि आउँदा एकै दिनमा सीमा पार गरिन्थ्यो,’ भारतको कानपुरबाट औद्योगिक कच्चा पदार्थ लिएर आएका ट्रक चालक हरि यादवले भने, ‘यसपालि ३ दिनदेखि रोकिएर बस्नुपरेको छ।’ यसले अनावश्यक दु:ख पाएको र खर्च बढेको उनले सुनाए। पशुपति सिमेन्टका म्यानेजर नन्दकिशोर शर्माले कच्चा पदार्थ क्लिंकर बोकेर आएको ट्रक सीमामा रोकिँदा उत्पादन प्रभावित भएको बताए।

अर्थ वाणिज्य

अशोक लेल्यान्डको सर्भिस सुविधा

छोटकरी

काठमाडौं (कास)– अशोक लेल्यान्डले मेचिदेखि महाकालीसम्म प्रत्येक मुख्य सहरमा अत्याधुनिक सुविधा सम्पन्न वर्कसपहरू खोली दक्ष र तालिम प्राप्त सर्भिस टिममार्फत अशोक लेल्यान्ड गाडीहरूलाई बिक्री पछिको सेवा दिँदै आएको छ। यसैक्रममा आईएमई मोर्टसले सर्भिस भ्यानहरू देशभर सञ्चालनमा ल्याइसकेको जारी विज्ञप्तिमा छ। यसैगरी सर्भिस बाइकहरू पनि सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

अर्थ वाणिज्य

एनएमबी र जिनी बैंकबीच सम्झौता

छोटकरी

काठमाडौं (कास)– एनएमबी बैंकले नेपालमा पूर्ण रूपमा स्वचालित बैंकिङ सेवा सुरु गर्न सिंगापुरस्थित सेवा प्रदायक कम्पनी बैंक जिनीसँग सम्झौता गरेको छ। सम्झौताअनुरूप एनएमबीले जिनीसँगको सहकार्यमा ट्याब्लेट उपकरणमा आधारित स्मार्ट टेलर सेवा सञ्चालन गर्दै स्वचालित बैंकिङ सेवा प्रदान गर्ने जारी विज्ञप्तिमा छ। सम्झौतामा दुवैतर्फबाट प्रमुख कार्यकारी अधिकृतद्वय सुनील केसी (एनएमबी बैंक) तथा रामकुमार शर्मा (बैंक जिनी) ले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

अर्थ वाणिज्य

डाबर स्पेसल तीज महोत्सव हुने

छोटकरी

काठमाडौं (कास)– महिला सिर्जनशील केन्द्रले डीईसीसी नेपालको व्यवस्थापनमा १६ औं पटक डाबर स्पेसल तीज महोत्सव आयोजना गर्ने भएको छ। राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा साउन २० देखि २५ सम्म हुने महोत्सव महिला उद्यमीहरूले आफ्ना उत्पादित वस्तुहरू प्रदर्शनीमा राख्ने जारी विज्ञप्तिमा छ।

अर्थ वाणिज्य

इलेक्ट्रोनिक कमोड बजारमा

छोटकरी

काठमाडौं (कास)– जापानी कम्पनी ‘आर्का’ ले नेपालमा शौचालयमा प्रयोग हुने इलेक्ट्रोनिक कमोडको बिक्री सुरु गरेको छ। बिक्रेता हिमालयन ओभरसिज ट्रेडिङका अनुसार यो इलेक्ट्रोनिक कमोड शौचपछि एउटा बटन थिचेको भरमा तातो वा चिसो पानीले आफैं सफा गरी सुख्खा बनाइदिनेछ। यसमा कमोड सिट न्यानो बनाउने, अटोमेटिक ड्रायर, पानी तातो बनाउने हिटर र गन्ध विनाशक प्रविधि जडित रहेको दाबी कम्पनीको छ। यसको सञ्चालनका निम्ति कमोडको दायाँ भागमा एउटा छुट्टै उपकरणको व्यवस्था गरिएको जारी विज्ञप्तिमा छ।

अर्थ वाणिज्य

एनबीआई र फिनटेलेक्टबीच सम्झौता

छोटकरी

काठमाडौं (कास)– नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र भारतको फिनटेलेक्टबीच नयाँ तालिम सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ। ‘एन्टी फ्रड सर्टिफिकेसन कोस’ नामक उक्त तालिमका लागि यी दुई संस्थाबीच सम्झौता भएको हो। सम्झौतापत्रमा नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बा र फिनटेलेक्टका प्रबन्ध निर्देशक श्रीश पाठकले हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रममा फिनटेलेक्टका प्रबन्धक निर्देशक पाठकले एन्टी फ्रडसम्बन्धी छोटो प्रस्तुति दिएका थिए। नेपालमा पहिलोपटक एनबीआईले यस्तो तालिम सुरु गर्न लागेको हो।

Page 17
अर्थ वाणिज्य

४ दिनमा ९ अर्बका चेक साटिए

- कान्तिपुर संवाददाता

काठमाडांै– असारमा काटिएर लेनदेन गर्न बाँकी रही सरकारी घर्रामा थन्किएका चेक साटिने क्रम सुस्त देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार करिब ३८ अर्ब रुपैयाँको चेक अझै साट्न बाँकी रहेको छ। सरकारी कर्मचारी र सेवा प्रदायकबीच ‘लेनदेन’ मिलाउन असारमा काटिएका चेक साटिने क्रम सुस्त देखिएको हो। महालेखा नियन्त्रकको कार्यालयले जनाएअनुसार गत ८ गतेसम्म ४७ अर्ब रुपैयाँको चेक साटिन बाँकी थियो। ‘हिजो (बुधबार) सम्म ३८ अर्ब रुपैयाँ साट्न बाँकी देखिएको छ,’ महालेखा नियन्त्रक राजेन्द्रप्रसाद नेपालले कान्तिपुरसित भने। उक्त आधारमा ६ देखि ११ गतेसम्म ९ अर्ब रुपैयाँ बराबरको चेक मात्रै साटिएको देखिन्छ। ‘आज (बिहीबार) साटन बाँकी चेकको संख्या अझै घट्यो। आइतबारसम्म निकै घट्ने अनुमान गरेका छौं,’ उनले भने।
बैंक क्ल्यिरेन्स (राफसाफ) मा समय लाग्ने भएकाले साटिँदै गरेको रकम अभिलेखमा देखिँदैन। सरकारी निकायको चेक साट्ने अवधि ३० दिनको हुन्छ। ‘तर, कोष तथा लेखा नियन्त्रक (कोलेनिका) को कार्यालयमा काटिसकेका कुनै पनि चेक रहँदैनन्,’ नेपालले भने। कोलेनिकाबाट काटिइसकेको तर सरोकारवाला निकायमा सरकारी अधिकारी र भुक्तानी लिनुपर्नेहरूबीच लेनदेन बाँकी नै रहेकाले चेक साटिन बाँकी रहेका हुन्। सरकारी काम गरेबापत भुक्तानी दिने समयमा कर्मचारीले ठेकेदार वा परमर्शदातासँग निश्चित प्रतिशत कमिसन लिने विषय अनौपचारिक रूपमा स्थापित नै भइसकेको छ। विकास निर्माणका काममा यस्तो कमिसनको प्रतिशत उच्च छ। कार्यालय प्रमुख, लेखापाल, प्राविधिकलाई निश्चित प्रतिशत यस्तो कसिमसन ठेकेदार वा परामर्शदाताले बुझाउनुपर्ने हुन्छ।कामको प्रकृतिअनुसार कमिसनको प्रतिशत तय हुने गरेको समय समयमा सार्वजनिकसमेत हुँदै आएको छ। यही लेनदेनका कारण उक्त चेकहरू साटिन बाँकी रहेको अनुमान गरिएको हो। अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, कोष तथा लेखा नियन्त्रक तथा सरोकारवाला सरकारी निकायहरूले चेक नसाटिनुका विभिन्न कारणहरू देखाए पनि ठेकेदार वा अन्य सेवा प्रदायक र सरकारी अधिकारीबीच चलखेल भइरहेको बुझन सकिन्छ। चेक साट्न बाँकी रहेकामध्ये केहीको समस्या रहे पनि अधिकांश सम्बन्धित कार्यालय प्रमुख, लेखापाल वा इन्जिनियर र ठेकेदारबीचको अतिरिक्त लाभको विषयमा अडकिएका हुन्। उक्त लेनदेन पछि सम्बन्धीतलाई भुक्तानी दिने चलन रहेको पूर्वप्रशासकहरूले बताउँदै आएका हुन्। लेनदेन वा अन्य कारणले चेक काटिएको अवधि ३० दिन कटेमा उक्त रकम स्वत: फ्रिज हुने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
सरकारी काम गरेपछि सम्बन्धित कार्यालयले विवरणहरूसहित चेक काट्नका लागि जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा पठाउँछ। उक्त विवरणको आधारमा कोलेनिकाले चेक काटी सम्बन्धित कार्यालयमा पठाउँछ। तर, लेनदेनका लागि सम्बन्धित कार्यालयले कोलेनिकाबाट चेक काटे पनि सम्बन्धित कार्यालयको घर्रामा राखेका हुन्छन्। चेक थन्काएर अतिरिक्त रकम माग गर्ने भयावह अवस्था बढेकाले २०५७ देखि सरकारी चेक एक महिनाभित्र साटिसक्नुपर्ने व्यवस्था गरिएको थियो। सोही बेलादेखि असार २५ गतेपछि चेक काट्न नपाइने व्यवस्था पनि गरिएको छ। तर, पनि अतिरिक्त लाभको प्रवृत्ति हट्न सकेको छैन। ‘यसबारे राष्ट्रिय सतकर्ता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबारसम्म कुनै अनुगमन तथा चासो देखाएका छैनन्,’ महालेखा नियन्त्रक कार्यालयका अर्का एक अधिकारीले भने।यसबारे संसद्को अर्थ समितिले गत मंगलबार छलफल गरी केही निर्देशन सरकारलाई दिए पनि अध्ययन भने गर्न सकेको छैन। समितिले चेक काटिएपछि हुने लेनदेन निरुत्साहित गर्न ई–पेमेन्टबाट रकम भुक्तानी गर्न निर्देशन दिएको छ। ‘नेपाल सरकारबाट हुने भुक्तानीलाई विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने,’ १० गतेको बैठकपछि गरिएको निर्णयमा भनिएको छ।
साथै समितिले आर्थिक वर्षको अन्तिम महिनामा हतारहतारमा काम गर्ने, गुणस्तरको काम नहुने, असार अन्तिममा काटिएका चेक भुक्तानी नहुने र बजेट दुरुपयोग हुने प्रवृत्तिलाई अन्त्य गर्न कार्यतालिकाअनुसार कडाइका साथ काम गर्ने गराउने, नियमित अनुगमन प्रणाली व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ। ‘काटिएका चेकहरू तत्काल सटही गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिन अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउनुका साथै काटिएको तर सटही गर्न बाँकी रहेका कार्यालयहरू तथा रकमको विवरण तत्काल समितिमा उपलब्ध गराउने निर्देशन दिने,’ समितिको निर्णयमा भनिएको छ।

अर्थ वाणिज्य

लुम्बिनीको सडक ४ लेन बन्दै

- कान्तिपुर संवाददाता

बुटवल– बुद्ध जन्मस्थल लुम्बिनी वरपरको सडक फराकिलो बनाउन थालिएको छ। बृहत् लुम्बिनी चक्रपथ आयोजनाअन्तर्गत डिभिजन सडक कार्यालयले ४ लेन निर्माण गर्न थालेको हो।
डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीका अनुसार बीचमा डिभाइडर हुनेछ। डिभाइडरका दायाँबायाँ २/२ लेन सडक बन्ने भएको हो। सडक ६५ फिट चौडाइको हुनेछ। सुरुमा पर्साचोकबाट पूर्वी गेट हुँदै पडरिया चोकसम्म सडक विस्तार गरिने जनाइएको छ। यो सडक साढे ५ किलोमिटर छ। त्यसका लागि ४० करोड रुपैयाँ विनियोजन भएको कार्यालयले जनाएको छ। बहुवर्षीय क्रमागत आयोजनाअन्तर्गतको सडक अघिल्लो असारमा ठेक्का लागेको थियो। अर्घाखाँची बाबुल जेबीले साढे २ वर्षभित्रमा सक्ने गरी ठेक्का लिएको कार्यालयका प्रमुख मरासिनीले बताए। लुम्बिनी क्षेत्र वरपर १२.८ किलोमिटर सडक छ। आगामी वर्षदेखि क्रमश: सबै सडक ४ लेन बनाउन थालिने उनले जानकारी दिए। चक्रपथ आयोजनाले लुम्बिनी क्षेत्रको मात्रै होइन, लुम्बिनी अञ्चलकै ६ जिल्ला जोड्ने सडक ४ लेनको बनाउन थालिने कार्यालयका प्रमुख मरासिनीले बताए। लुम्बिनीबाट भैरहवा हुँदै नवलपरासीको परासीमा ४ लेन सडकले जोडिनेछ। परासीबाट त्रिवेणी, दुम्कीवास, गैंडाकोट हुँदै पाल्पाका रामपुर पनि जोडिने उनले जनाए। रामपुरबाट गुल्मीको रिडी तम्घास हँुदै अर्घाखाँचीको सन्धिखर्क जोडिने सडक पनि ४ लेनको हुने भएको हो। सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिंगे, तौलिहवा हँुदै लुम्बिनी जोडिनेछ। लुम्बिनीलाई केन्द्र भागमा राखेर आसपासको क्षेत्रको सडक स्तरोन्नति गरी पर्यटन प्रवद्र्धन गर्न आयोजनाले सुरुवात गरेको उनले बताए।

Page 18
अर्थ वाणिज्य

एनआईसीले शाखा संख्या दोब्बर गर्ने

- कान्तिपुर संवाददाता

काठमाडौं– एनआईसी एसिया बंैकले सन २०२० सम्ममा शाखा संख्या ३ सय पुर्‍याउने लक्ष्य सार्वजनिक गरेको छ। २० आंै वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले उक्त जानकारी दिए। हाल बैंकको शाखा संख्या १ सय २५ छ। कार्यक्रममा सञ्चालक समिति अध्यक्ष जगदीशप्रसाद अग्रवालले २० वर्षे अवधिमा बैंकले गरेको प्रगतिको अनुभव सुनाएका थिए। हाल बैंकका निक्षेप ग्राहक संख्या ५ लाख ५० हजारभन्दा बढी रहेको र कर्जा ग्राहक संख्या २५ हजारभन्दा बढी रहेको बैंकले जनाएको छ।
कार्यक्रममा बोल्दै बैंककी ब्रान्ड एम्बेसेडर मनीषा कोइरालाले बैंकको ग्राहकमैत्री सेवा, स्ट्रयाटेजिज, फाइनान्सियल इन्क्लुजनलगायतका विषयले आफूलाई प्रभावित गरेको
बताइन्।

अर्थ वाणिज्य

विराटनगर जुट मिल सञ्चालन हुने

- कान्तिपुर संवाददाता

 व्यवस्थापन समितिले आफ्नै लगानीमा मंसिरदेखि सुरू गर्ने विराटनगर जुट मिलको मूल प्रवेशद्वार। फाइल तस्बिर : कान्तिपुर

विराटनगर– लामो समयदेखि बन्द रहेको मुलकुको पहिलो उद्योग विराटनगर जुट मिल सञ्चालन हुने भएको छ। व्यवस्थापन समितिले आफ्नै लगानीमा आगामी मंसिरदेखि उत्पादन सुरु गर्ने भएको हो।
बेलाबेलामा बन्द हुँदै खुल्दै आएको मिल ०७१ असोजदेखि बन्द छ। त्यसअघि भारतको औद्योगिक समूह विनसम इन्टरनेसनलले सरकारलाई वार्षिक १ करोड ३५ लाख रुपैयाँ बहाल तिर्ने सर्तमा २५ वर्षका लागि लिजमा लिई सञ्चालन गरेको थियो। तर, सरकारले सर्तअनुसार मिलमा विद्युतको ३३ केभीए प्रसारण लाइन जडान गर्न नदिएपछि विनसमले १६ महिनापछि मिल बन्द गरेको तत्कालीन महाप्रबन्धक श्याम पौडेलको भनाइ छ।व्यवस्थापन समितिले मंसिरदेखि उत्पादन सुरु गर्ने बताएको छ। ‘मिलको दैनिक ४५ टन उत्पादन गर्ने क्षमता छ,’ मिलका प्रबन्ध सञ्चालक नीलहरि काफलेले भने ‘सुरुमा दैनिक १५ टन उत्पादन गर्ने लक्ष्य राखिएको छ।’ मिलले क्षमताअनुसारको जुट सामग्री उत्पादन गर्दा ३ हजार ५ सयले रोजगारी पाएका थिए। मिलका सेयर सदस्यले चयन गरेको व्यवस्थापन समितिले मिल सञ्चालन गर्ने काफलेले जनाए। मिलका १ सय ८३ सेयरधनीले व्यवस्थापन समिति अध्यक्षमा वसन्त वनलाई चयन गरेका छन्। समितिले करिब ६ करोड चालु पुँजी संकलन गरेर ऐतिहासिक मिललाई सञ्चालन गर्ने तयारी गरेको काफलेले बताए। सेयरधनी थपेर ५ सय पुर्‍याई उनहरूकै लगानीले मिल सञ्चालन गर्ने जनाइएको छ। विद्युतको ३३ केभीए प्रसारण लाइन जडान र मेसिनरी मर्मत सुरु गरिएको छ। मिलका पुराना पार्टपुर्जा मर्मतका लागि इन्जिनियर सौरभ विष्टको नेतृत्वमा प्राविधिक खटेको छ।

अर्थ वाणिज्य

‘गो ग्रिन’ भेला

काठमाडौं (कास)– पर्यटन उद्योगसँग सम्बन्धित होटल तथा रेस्टुरेन्टका कर्मचारी र सञ्चालकलाई लक्षित गरी बिहीबार राजधानीको अन्नपूर्ण होटलमा एकदिने सम्मेलन आयोजना गरियो ।
‘गो ग्रिन’ नाम दिइएको सम्मेलनमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) र होटल संघ नेपाल (हान) बाट सयभन्दा बढी सहभागी थिए । पर्यटक बसोवास गर्ने तथा खाने होटल तथा रेस्टुरेन्टमा वातावरणमैत्री रसायनहरूको प्रयोग कसरी वृद्धि गर्ने भन्ने विषयमा चारजना विषयविज्ञले प्रस्तुति गरेका थिए । ‘होटल/रेस्टुरेन्टमा प्रयोग हुने कपडादेखि लिएर भाँडावर्तन, टाइलेट, बेडरुम, भान्सा आदिको सफाइमा वातावरणमैत्री रसायन तथा उत्पादनको कसरी प्रयोग गर्नेबारे सरोकारवालाहरूबीच छलफल भयो,’ रेबानका अध्यक्ष प्रमोद जैसवालले भने । कार्यक्रममा अस्ट्रेलियाका थुप्रै निकायमा सरसफाइ र हाइजिन क्षेत्रमा काम गर्दै आएका गैरआवासीय नेपाली खेम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइबारे आफ्नो अनुभव र सफलताबारे सुनाएका थिए ।

Page 19
खेलकुद

विवाद चर्केपछि बैठक स्थगित

एन्फा बैठक
- कान्तिपुर संवाददाता

काठमाडौं– एएफसी कप प्ले–अफबाट वञ्चित गरिएको थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिँदा दोषीलाई कारबाही गर्नुपर्ने माग चर्किएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठले बिहीबार कार्यसमिति बैठक स्थगित गरेका छन्।‘थ्रीस्टारलाई क्षतिपूर्ति दिने भन्नेमा सबै एकमत छन्। फरक मतहरू पनि आए। थ्रीस्टारलाई क्षतिपूर्ति दिलाउने बाटो निकाल्नका लागि बैठक स्थगित गरिएको हो। यसले फुटबलको भविष्यसँग सरोकार राख्छ,’ अध्यक्ष श्रेष्ठले भने। उनले वकिलसँग पनि सल्लाह गरिरहेको पनि बताए। एन्फाले टिम दर्ता नगरेपछि थ्रीस्टारले छनोट भएर पनि एएफसी कपको प्लेअफ खेल्न पाएको थिएन। त्यसविरुद्ध ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै थ्रीस्टारले मंसिरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएको थियो। त्यसयता थ्रीस्टार मैदानमा ओर्लिएको छैन र क्षतिपूर्ति नपाएसम्म नखेल्ने घोषणा नै गरेको थियो।
एन्फा पदाधिकारीसँगको अनौपचारिक बैठकमा गत महिना थ्रीस्टार १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति लिएर विवादलाई पूर्णविराम लगाउन सहमत भएको थियो। त्यसमा दोषीलाई कारबाही गर्नुपर्नेमा भने थ्रीस्टार मौन छ। तर बुधबार सुरु भएको बैठकमा एन्फाका केन्द्रीय सदस्य पंकज नेम्वाङले न्यायको सिद्धान्तअनुसार क्षतिपूर्ति दिँदा दोषीलाई कारबाही गर्नुपर्ने माग राखेपछि माहौल चर्किएको हो।
वरिष्ठ उपाध्यक्ष मणि कुँवर, उपाध्यक्षद्वय किशोर राई, वीरबहादुर खड्का, सदस्यहरू रत्न श्रेष्ठ, गणेश चन्दले पनि थ्रीस्टारलाई क्षतिपूर्ति दिनुपर्ने र त्यससँगै दोषीलाई कारबाही पनि गर्नुपर्ने माग राखेका थिए। वीरबहादुर खड्का संयोजकत्वको गठित छानबिन समितिले पनि महासचिव धिरेन्द्र प्रधान तथा कर्मचारी गोकुल थापा, वसन्त रिजाल दोषी भएको ठहर गर्दै एन्फालाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा अध्यक्षलाई समेत सचेत गराउनुपर्ने उल्लेख छ। दोषी देखिएकालाई नसिहत दिइएकाले कारबाही गर्नु नपर्ने दाबी गर्दै अध्यक्ष श्रेष्ठले कर्मचारीको बचाउ गरेका थिए। तर दोषीलाई कारबाही गर्नैपर्ने पक्षमा बैठक मोडिएको थियो। त्यसैले बिहीबार पनि बैठक जारी हुने भनिए पनि विज्ञप्तिमार्फत् श्रेष्ठले बैठक स्थगित भएको जनाएका थिए।

खेलकुद

मैदान स्तरोन्नति गर्न ४९ लाख

हेटौंडा (कास)– जिल्ला खेलकुद विकास समितिले गत आर्थिक वर्षमा मैदान स्तरोन्नतिका लागि ४९ लाख रुपैयाँ खर्च गरेको छ। राष्ट्रिय खेलकुद परिषदको ‘एक निर्वाचन क्षेत्र, एक खेल मैदान’ अवधारणाअनुसार समितिले आव ०७३/०७४ मा जिल्लाको चारवटै निर्वाचन क्षेत्रको दस खेल मैदानको स्तरोन्नतिलाई उक्त रकम खर्चेको हो।समितिले फापरबारी मैदानमा ५ लाख, बेतिनी मैदानमा ३ लाख, धियाँल मैदानमा ३ लाख, इन्द्रायणी मैदानमा ५ लाख, सातकन्या मैदान चित्लाङमा ३ लाख, पदमपोखरी मैदानमा ५ लाख, हुप्रचौर क्रिकेट मैदानमा १५ लाख, रोटरी मैदान मनहरिमा ५ लाख, इन्द्रसरोवर मैदानमा २ लाख र थाहा नगर मैदानमा ३ लाख खर्चेको जिखेविस सचिव राजन दाहालले बताए। समितिले विभिन्न ३७ खेल शीर्षकमा करिब ७२ लाख ७० हजार ८ सय ५० रुपैयाँबराबरको आर्थिक सहयोग गरेको जनाएको छ। समितिले गत वर्ष जिल्लामा भएका सम्पूर्ण खेलकुद प्रतियोगितालाई आर्थिक, भौतिक तथा समन्वयात्मक सहयोग गरेको समितिको दाबी छ।
चालु आवमा खेलकुद विकास समिति मकवानपुरले हेटौंडामा जिल्ला खेलकुद महोत्सव आयोजना गर्ने तयारी गरेको छ। महोत्सवमा फुटबल, भलिबल, कराते, तेक्वान्दो, क्रिकेट, उसु, बक्सिङ, फुलकन्टयाक्ट कराते, बुद्धिचाल, ब्याडमिन्टन, टेबलटेनिस र एथलेटिक्स खेल समावेश गरिने जनाएको छ।

खेलकुद

विशाल, जैदी र सागर भिड्दै

काठमाडौं (कास)– विशालसिंह विष्ट, जैदी कोजु र सागर भण्डारी एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप २०१७ को अन्तिम दिन शुक्रबार प्रतिस्पर्धा गर्दै छन्।सातौं राष्ट्रिय खेलकुदमा रजत पदक जितेका विशालले पुरुष ८५ केजीमा युवा र जुनियरतर्फ प्रतिस्पर्धा गर्दै छन्। जैदीको चुनौती ९४ केजीमा जुनियरतर्फ हुनेछ भने सागर १ सय ५ केजीमा जुनियरतर्फ भिड्दै छन्। विशाल र जैदी समूह ‘बी’ मा छन् भने सागरले समूह ‘ए’ मा प्रतिस्पर्धा गर्नेछन्। तीनै खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपल्ट सहभागी भएका हुन्। ‘उनीहरूले प्रशिक्षणमा निकै मिहिनेत गरेका छन्। त्यसैले व्यक्तिगतमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ,’ प्रशिक्षक जगदीश प्रधानले भने।

 

खेलकुद

सोफिया चुकिन्

छोटकरी

काठमाडौं (कास)– सोफिया शाहले हंगेरीमा भइरहेको फिना वल्र्ड स्वीमिङ च्याम्पियनसिपमा बिहीबार आफ्नो उत्कृष्ट प्रदर्शन दोहोर्‍याउन सकिनन्। उनले १०० मिटर फ्रिस्टाइल हिटमा १ मिनेट ४.८३ सेकेन्डमा पूरा गरिन्। राष्ट्रिय कीर्तिमान १ मिनेट १ सेकेन्डको छ। सोफियाको उत्कृष्ट समय १ मिनेट २ सेकेन्डको हो। उनी प्रतिस्पर्धी ७८ जनामध्ये ६९ औं स्थानमा रहिन्।
पुरुषतर्फ अनुभव सुब्बा १०० मिटर फ्रिस्टाइलमा १ सय ६ औं स्थानमा रहे। सहभागी १ सय १३ जनामा उनले ५९.११ सेकेन्डको समय निकाल्दै व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरे। यसअघि उनको उत्कृष्ट समय १ मिनेटको थियो।

खेलकुद

बक्सर फिलिपिन्स जाने

छोटकरी

काठमाडौं (कास)– फिलिपिन्समा अगस्ट १ देखि ८ सम्म हुने एसियन जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ओम परियारले भाग लिने भएका छन्। च्याम्पियनसिपमा ओमले ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। टोलीको नेतृत्व नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गर्नेछन् भने प्रशिक्षकको भूमिका काजकिस्तानका प्रशिक्षक मुख्तार बर्दिमतोभले निर्वाह गर्नेछन्। नेपाली टिम शुक्रबार त्यसतर्फ जानेछ।

खेलकुद

खेलाडीलाई पोसाक

छोटकरी

काठमाडौं, (कास)– मिसन सागदेखि ओलम्पिक परियोजनाअन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई बिहीबार खेल पोसाक प्रदान गरिएको छ। राष्ट्रिय टिम तयारीका विभिन्न १४ खेलका २ सय ८६ खेलाडी र ६० प्रशिक्षकलाई ट्रयाकसुट र क्याप वितरण गरिएको हो।
एथलेटिक्स, उसु, कराते, तेक्वान्दो, जुडो, बक्सिङ, भारोत्तोलन, आर्चरी, कुस्ती, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, पौडी र ट्रायथलनका खेलाडी राष्ट्रिय टिम तयारीमा छन्। पछिल्लोपल्ट राष्ट्रिय टिम तयारी फागुन २६ देखि सुरु भएको थियो। राखेपका सदस्य–सचिव केशवकुमार विष्टले मंसिरमा च्याम्पियनसिप आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष प्रशिक्षणमा राखिने बताए।

खेलकुद

राष्ट्रिय जुनियर टेनिस

छोटकरी

काठमाडौं (कास)– अखिल नेपाल लनटेनिस संघले शनिबारदेखि प्रथम एनएलटीए– जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता गर्ने भएको छ। यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहको ब्वाइज/गल्र्स सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ। १ सय ५० खेलाडीले भाग लिने जनाइएको छ।

Page 20
खेलकुद

भारतको बलियो पकड

श्रीलंकाका दिमुथ करुणारत्नेको विकेट लिएपछि भारतीय बलर उमेश यादव (बीच) साथीसँग खुसी साट्ने क्रममा । तस्बिर : रोयटर्स

गल (एएफपी)– भारतका बलरले श्रीलंकाका माथिल्लोक्रम भत्काएपछि भ्रमणकारी टोलीले बिहीबार पहिलो टेस्टको दोस्रो दिनमै राम्रो पकड बनाएको छ। तीव्र गतिका बलर मोहम्मद सामीले एकै ओभरमा २ विकेट लिए। उमेश यादवले ओपनर दिमुथ करुणरत्नेलाई आउट गरे। भारतले पहिलो इनिङ्समा ६ सय रन बनायो, जुन उसको श्रीलंकाली मैदानमा सबैभन्दा ठूलो स्कोर हो। पूर्वकप्तान एन्जेलो म्याथ्युज ५४ र दिलरुवान परेरा ६ रन बनाई क्रिजमा छन्। श्रीलंका अझै भारतको पहिलो इनिङ्सभन्दा ४ सय ४६ रनले पछाडि छ।
भारतको इनिङ्समा १ सय ५३ रन बनाएका चेतेश्वर पुजाराले भारतले नम्बर एक टेस्ट टिमको हिसाबमा प्रदर्शन दिएकोमा आफू खुसी रहेको बताए। ‘हामी त्यही स्तर कायम राखिरहन चाहन्छौं। हामीले पर्याप्त रन बनायौं र आज ५ विकेट लियौं। यो स्थिति हाम्रा लागि धेरै राम्रो हो,’ उनले भारतले पछिल्ला १३ मा १० टेस्ट जितेकोतर्फ इंगित गर्दै भने, ‘मलाई लाग्छ अन्तिम सत्र हाम्रा लागि महत्त्वपूर्ण रह्यो र त्यसमा हामीले राम्रो बलिङ गर्‍यौं। हाम्रा बलरहरूले लाइन र लेन्थमा राम्रो बलिङ गर्छन्।’
श्रीलंकाका ओपनर उपुल
थारङ्गाले ९३ बलमा ६४ रन बनाए। तर फिल्डिङमा अभिनव मुकुन्दले जोशिलो प्रदर्शन देखाउँदा उनी रनआउट भए। सिल्ली प्वाइन्टमा फिल्डिङ गरेका उनले रविचन्द्रन अश्विनको बलमा एक हातले क्याच लिएर निरोसन डिकवेलालाई पवेलियन फर्काएपछि श्रीलंका १४३–५ को स्थितिमा पुगेको थियो।
सुरुआती सफलता यादवले दिलाएका थिए। उनले करुणारत्नेलाई एलबीडब्लू आउट गरे। चोटका कारण बाहिर रहेर पुनरागमन गरिरहेका सामीले पहिलो टेस्ट खेलिरहेका दानुस्का गुनाथिलकालाई १६ र कुशल मेन्डिसलाई शून्यमा ४ बलको अन्तरमा आउट गरेका थिए।
दिनको खेल ३९३–३ बाट सुरु गरेको भारतको तल्लोक्रम लगातर आउट भए पनि उनीहरूले छिटो गतिमा रन जोडेका थिए। तीव्र बलर नुवान प्रदीपले टेस्टमा पहिलो पटक ५ विकेट लिँदै भारतलाई रोकेका थिए। पुजारालाई पनि आउट गरेका उनले १ सय ३२ रन खर्चेर ६ विकेट पुर्‍याए। उनकै कारण भारतले बिहानी सत्रमै ४ विकेट गुमाएको थियो।
पुजाराले २ सय ६५ बलको इनिङ्समा १३ चौका प्रहार गरे। यसअघि उनको उत्कृष्ट प्रदर्शन पनि दक्षिण अफ्रिकाविरूद्ध सन् २०१३ मा जोहानसबर्गमा १ सय ५३ रन बनाउनु नै थियो। हार्दिक पाण्डेले आफ्नो पहिलो टेस्टमै ४९ बलमा ५० रन बनाए । भारतको तल्लोक्रमले आक्रामक ब्याटिङ प्रदर्शन गर्नेक्रममा पाण्डेले प्रदीपको बलमा छक्का बर्साए। उनले ५ चौका र ३ छक्का हाने । ३० रन बनाएका मोहम्मद सामीले रंगना हेराथलाई ३ छक्का प्रहार गरे।
यसअघि अजिन्क्या रहानेले ५७ रन बनाउँदै जुझारु प्रदर्शन दिए। तर लाहिरू कुमारको बलमा करुणारत्नेले डाइभिङ क्याच लिँदै उनलाई आउट गरे। अश्विनले ऋद्धिमन शाहसँग छैटौं विकेटमा ५९ रन जोडे। तर भारतको काउन्टर एटयाक खेललाई श्रीलंकाले ६ बलको अन्तरमा दुवैलाई आउट गरी दबाबमा ल्याएको थियो। अश्विनले ४७ र शाहले १६ रन बनाए। कप्तान हेराथले शाहलाई आउट गरी इनिङ्समा एकमात्र विकेट लिए। यता श्रीलंका क्रिकेटले अलराउन्डर असेला गुणरत्ने शृंखलाभर खेल्न नसक्ने भएको जनाएको छ। बुधबार पहिलो दिनको खेलको क्रममा भारतीय ओपनर शिखर धवनको क्याच लिनेक्रममा गुणरत्नेलाई देब्रे हातको बुढी औंलामा चोट लागेको थियो।

खेलकुद

सरुवा बजार ‘नियन्त्रण बाहिर’

लन्डन (रोयटर्स)– चालु सरुवा बजारमा प्रिमियर लिग क्लबहरूले गरेको खर्च दिगो नहुने टोटेनहम हटस्परका अध्यक्ष डानियल लेभीले बताएका छन्। इङल्यान्डको शीर्ष ८ क्लबले गत सिजन अन्त्ययता १ अर्ब डलरभन्दा बढी खेलाडी किन्न खर्चिसकेका छन्। तर प्रिमियर लिग उपविजेता स्पर्सले चाहिँ आफ्नो साबिक टोलीमा कुनै थपथाप गरेको छैन। ‘हालका केही गतिविधि दिगो हुने सम्भावना छैन,’ उनले न्युयोर्कमा मंगलबार भने, ‘हामीले राम्रोसँग क्लब चलाउनुपर्छ। कसैले आफूले कमाएभन्दा २ सय मिलियन पाउन्ड बढी खर्च गरेको छ। कुनै न कुनै दिन त त्यसले मार पार्छ नै।’ स्पर्सले यसै महिना मात्र आफ्ना इङलिस राइटब्याक काइले वाकरलाई ४५ मिलियन पाउन्डमा बेचेको हो। क्लबले ६१ हजार दर्शक क्षमताको नयाँ रंगशाला बनाइरहेको छ र आउने वर्ष त्यो सन्चालनमा आउनेछ।
‘हामीले सही सन्तुलन मिलाउनुपर्छ। म इमान्दारीपूर्वक के भन्छु भने यो रंगशालाका कारण हामीले सरुवातिर आकर्षित हुनुपर्ने अवस्था छैन। हामीले नकिनि नहुने भन्ने खेलाडी भनेर पनि कसैलाई देखेका छैनौ। हामीले बरु आफ्नै एकेडेमीका खेलाडीलाई मौका दिनेछौं,’ इभीले भने। म्यानचेस्टर युनाइटेडका व्यवस्थापक जोसे मोउरिन्होले पनि सरुवामा लगानी नियन्त्रण बाहिर गएको टिप्पणी गरेका छन्। जबकि युनाइटेड आफैंले पनि थुप्रै खर्च गरेको छ। उसले यसपालि सय मिलियन पाउन्डभन्दा बढी खर्चेर फरवार्ड रोमेलो लुकाकु र रक्षक भिक्टर लिन्डलोफ ल्याएको छ।
युनाइटेडको प्रतिद्वन्द्वी सिटीले चाहिँ २ सय मिलियन पाउन्डभन्दा बढी खन्याइसकेको छ। उसले वाकर, बेन्जामिन मेन्डी, डानिलो, बर्नार्डो सिल्भा र इडरसनलाई भित्र्याएको छ।
यसै गरी साबिक विजेता चेल्सीले पनि कीर्तिमान मूल्यमा रियल म्याड्रिडबाट अल्भारो मोराटालाई भित्र्याएको छ।
‘हरेक क्लबले राम्रा खेलाडी ल्याएका छन्। धेरै लगानी गरेका छन्। कसैले धेरै नै तिरेका छन्। जसले गर्दा अनौठो वातावरण बनेको छ,’ मोउरिन्होले भने, ‘खास गरी फरवार्डका लागि धेरै लगानी भएको छ।’ यसैबीच मोउरिन्हाले आउने सिजनमा आफ्नो क्लबले लिग जित्नका लागि थप सुधारका काम गर्नुपर्ने बताएका छन्।
माउरिन्हाले ओल्ड ट्राफोर्ड सम्हालेको पहिलो वर्ष क्लबले लिग कप र युरोपा लिग जिते पनि प्रिमियर लिगमा चाहिँ छैटौं स्थानमा चित्त बुझाउनुपर्‍यो। ऊ विजेता चेल्सीभन्दा २४ अंकले पछाडि पर्‍यो। गत मेमा युरोपा लिग उचालेका कारण युनाइटेडले आउने सिजन च्याम्पियन्स लिगको समूह चरण खेल्न पाउनेछ। तर पोर्चुगाली व्यवस्थापक आफ्नो क्लब अझै युरोपेली महादेशका शीर्ष क्लबभन्दा कमजोर रहेको स्वीकारे। ‘हामी युरोपा लिग विजेताका रूपमा अगाडि बढे पनि शीर्ष क्लबमा पर्ने छैनौं,’ उनले भने, ‘अझ हामीले धेरै मिहिनेत गर्नुपर्छ।’ मोउरिन्हो पाएदेखि अझै दुई राम्रा खेलाडी थप्ने सुरमा छन्। ‘एउटा मिडफिल्डर भए मलाई राम्रो विकल्प हुन्थ्यो। र, एउटा विंग्सबाट आक्रमण गर्ने पनि चाहियो,’ उनले भने। संचारमाध्यमका अनुसार चेल्सीका नेमान्जा माटिक र टोटेनहमको इरिक डायरमाथि माउरिन्होको आँखा छ। साथै इन्टर मिलानका विंगर इभारन पेरिसिक पनि उनको नजरमा परेका छन्। युनाइटेडले नयाँ सिजनको पहिलो खेल अगस्ट १३ मा वेस्टह्यामसँग खेल्नेछ।

खेलकुद

इङल्यान्डको संघर्ष

लन्डन (एएफपी)– एलिस्टर कुकले ओभलको १ सयौं टेस्टमा आफ्नै परिचित शैलीमा अर्धशतक बनाएर जुझारु प्रदर्शन गरेका छन्। टस जितेर ब्याटिङ रोजेको इङल्यान्डले दक्षिण अफ्रिकाविरूद्धको तेस्रो टेस्टको पहिलो दिनको खेलको चियासम्म ४ विकेट गुमाई १ सय ४९ रन बनाएको छ।
धैर्यपूर्वक खेलिरहेका कुक ७२ रन बनाई क्रिजमा छन्। १ सय ६१ ब्ल खेलेका उनले ८ चौका प्रहार गरिसके। बेन स्ट्रोक्स १० रन बनाई पूर्व कप्तान कुकसँगै नटआउट छन्। वर्षाले चियापछिको खेल प्रभावित पारेको छ। पेट दुखेका कारण आधा घण्टा मैदान बाहिर रहेका भेर्नोन फिलान्डरले कप्तान जो रुटलाई २९ रनमा आउट गरेपछि इङल्यान्ड दबाबमा आयो। इङल्यान्डले ब्याट्सम्यानद्वय टम वेस्टली र डाविड मालन तथा सिमर टोबी रोल्यान्ड–जोन्सलाई ‘डेब्यू’ गर्ने मौका दिइएको थियो। तर टोली भेट्रान कुकमै भर पर्नुपरेको थियो। किएटोन जेनिङ्स चौथो ओभरमै फिलान्डरको बलमा तेस्रो स्लिपमा क्याच दिन पुगे। स्टली २५ रनमा आउट भए। मालनलाई १ रनमा कागिसो राबाडाले बोल्ड गरे।
लन्डनको लर्ड्स, अस्ट्रेलियाको मेलबर्न र सिड्नीपछि १ सय ३७ वर्ष पुरानो ओभल १ सय टेस्ट आयोजना गर्ने पछिल्लो टेस्ट मैदान हो। शृंखला अहिले १–१ को बराबरीमा छ।

खेलकुद

श्रीदिवालाई सफलता

- कान्तिपुर संवाददाता

काठमाडौं– आयोजक श्रीदिवा स्कुल ११ औं मनसुन मिट अन्तरस्कुल बास्केटबलको गल्र्सतर्फ सेमिफाइनल पुगेको छ। घरेलु कोर्टमा श्रीदिवाले युनिभर्सललाई ३७–३४ स्कोरले हरायो। श्रीदिवाकी छेवाङ शेर्पाले १६ स्कोर गरिन्। डाफोडिलले हिमालीलाई १४–४ ले हराउँदा सिम्मी तामाङले ६ स्कोर गरिन्।ब्वाइजमा ज्ञान निकेतन र ओडिसी एकेडेमी सेमिफाइनल पुगे। मनीष तामाङको २५ स्कोरमा ज्ञान निकेतनले बुद्ध एकेडेमीलाई ६३–४७ ले हरायो। ओडिसीले नेपाल सेन्ट्रलमाथि ५१–३९ को जित पायो। ओडिसीका अमन श्रेष्ठले १३ स्कोर जोडे।

Page 24
हेल्लो शुक्रवार

निरन्तर पावरफुल

- हिमविक्रम केसी

 

सत्तरीको दशक वेस्टर्न संगीतका लागि स्वर्ण युग मानिन्छ। त्यसको प्रभाव नेपालमा समेत विस्तार हुँदै थियो। सहर बजारमा मेटल र रक सुनिन थालेका थिए। भर्खरै ब्यान्डहरू खुल्न थालेका थिए।
यहाँ चर्चा गर्न लागेको कुरोचाहिँ १९९१ तिरको हो। काठमाडौं, मैतीदेवीका केटाहरू मिलेर ब्यान्ड बनाउने तयारी गरे। तीमध्येका थिए, शिव मुखिया र सुरेन्द्र श्रेष्ठ। उनीहरू सबै एसएलसी सकेर ६ महिने ग्यापमा थिए। सबै संगीतप्रेमी थिए। कसले के बजाउने भन्ने जिम्मेवारी लिए। शिवले लिड गितार र सुरेन्द्रले ड्रम पाए। भूपेन्द्र कार्की बेस गितारिस्ट र रमेश ज्ञवाली रिदम गितारिस्ट भए। यी सबै बालकुमारी स्कुलका एउटै एसएलसी ब्याची थिए। टंगाल स्कुल पढेका करण महर्जन भोकलमा आएपछि ब्यान्डको स्वरूप पूरा भयो। एक दिन सुरेन्द्रले ब्यान्डको नाम एक्स राखौं भनेर प्रस्ताव गरे। एक्स अर्थात् शक्तिको सिम्बोल। ब्यान्डका सदस्यहरूबीच छलफल भयो। सबैले त्यसको अर्थ खोजे। निष्कर्ष निकाले, एक्स अर्थात् शक्तिको स्वरूप। सबैले प्रण गरे, हामी पनि त्यस्तै पावरफुल बन्नुपर्छ। अनि नाम राखे, द एक्स ब्यान्ड। ब्यान्डको औपचारिक सुरुवात सन् १९९३ मा भयो। ब्यान्डले पहिलो एल्बम निकाल्यो, धूवाँ। एल्बम निकाल्न टोलका दाइ र साथीहरूले आर्थिक सहयोग गरे। ‘एउटा गीतको लाइभ रेकर्ड गरेको ५ सयदेखि ६ सय रुपैयाँ लाग्थ्यो, क्यासेट आफैंले किनेर लैजानुपथ्र्यो,’ शिव सम्झन्छन्। धूवाँमा १० गीत समावेश थिए। रवि कार्कीले दुई गीत लेखिदिएका थिए, बाँकी ८ शिवका थिए। सात महिनाको अभ्यासपछि सिम्फोनिक स्टुडियोमा गीतहरू रेकर्ड भए। तर एल्बम सुपरडुपर फ्लप भयो। एल्बममा ह्याभी मेटल प्रयोग गरिएको थियो। ब्यान्डका सदस्यहरू धेरै हाड रक र मेटल सुन्ने भएकाले त्यसको प्रभाव पर्ने नै भयो। त्यो समयको नेपाली संगीत बजारमा लोकगीत र सुगम संगीत बहुल थियो। एल्बमको असफलतासँगै ब्यान्डका सदस्यले हरेस खाए, ब्यान्ड छोडे। अन्तिममा शिव र सुरेन्द्र मात्र रहे।एसएलसी सकेसँगै शिवलाई लाहुरेमा भर्ती हुन परिवारले धेरै कर गरेका थिए। उनले दुई पटक कोसिस पनि गरे। फेल भए। हुर्केको छोरा लाहुर जाने, पैसा कमाउने परिवेश थियो। तर शिवको मन कहिल्यै त्यसमा बसेन। लाहुरे नभएपछि परिवारले विदेश जाने धेरै कर गरे। त्यता पनि इच्छा थिएन। उनी संगीतमै मस्त थिए। पहिलो एल्बमको असफलतासँगै संगीतको भोग झन् जुर्मुराएको थियो। सुरेन्द्रले भोकलिस्ट बन्न शिवलाई दबाब थिए। दुवै मिलेर दोस्रो एल्बमको तयारीमा जुटे। त्यसको दुई वर्षपछि सुरेन्द्र र शिव एल्बम लिएर आए र नाम राखे, फर्केर हेर्दा। ‘चिया बारीमा’ बोलको गीतले बजार पिट्यो। म्युजिक भिडियो बनाउने सोच आयो। त्यसका लागि एनटीभीका रोशनप्रताप राणासँग सहकार्य भयो। शिव विदेश जानका लागि तय भएको अन्तर्वार्तासमेत लत्याएर आउटडोर सुटिङमा गए। जब भिडियो रिलिज भयो, एल्बम झन् हिट भयो। त्यसपछि ब्यान्डले नै कहिल्यै फर्केर हेर्नुपरेन। दोस्रो एल्बम हिट भएपछि ब्यान्ड केही सुस्तायो। सुरेन्द्र र शिव मात्रै ब्यान्डमा थिए, त्यसपछि जोडिन आइपुगे शरद श्रेष्ठ। हाड रक मन पराउने शरद र सफ्ट म्युजिकमा खेल्ने शिव अनि सुरेन्द्रको केमेस्ट्री खुबै मिल्यो। ६ वर्षको ग्यापपछि सन् २००१ मा ‘माझी दाइ’ एल्बम निस्कियो। हाड रक र सफ्ट म्याुजिक मिश्रित एल्बम एभरेज रह्यो। शिवले लेख्ने गीतका शब्द सामान्य तर गहिरा हुन्थे। तिनैमध्येका ‘प्राय: सधैंै’, ‘नो प्रोब्लम’ जस्ता गीत हिट भए। ब्यान्डले लय समाइसकेको थियो। ब्यान्ड स्थापना भएको १० वर्षको उपलक्ष्यमा एल्बम निकाल्ने तयारी भयो। नाम ‘डिकेट’ राखियो। नयाँ एल्बममा म्युजिक चेन्ज थियो। प्लेन गितार बढी खेलाइयो। नेपाली मेलोडी भरिएको एल्बमले ब्यान्डलाई नसोचेको सफलता दिलायो। एल्बमका सबै गीत हिट बने। लुक्न देऊ, ठाडो जाने, म आउँदै छु, एक नजरले जस्ता गीत श्रोताले औधी मन पराइदिए। गीतको चर्चाले बाटोमै हिँड्न समस्या हुन थाल्यो। सार्वजनिक स्थानमा फ्यानले घेरेर अटोग्राफ लिन थाले। क्यासेट मात्र एक लाख बढी प्रति बिक्री भएको थियो, त्यो बेला। त्यो सफलतापछि शिव सम्झन्छन्, रहरै रहरमा संगीत पेसा बन्न पुगेछ। ‘दस वर्षको यात्रामा हिँडिसकेपछि जिन्दगीमा म्युजिकबाहेक केही सिकिएनछ,’ उनी भन्छन्। त्यसपछिको यात्रा केही सहज बन्यो। बिस्तारै मिडियाहरू आए। रेडियो, टीभी, एफएम, पत्रिकाको संख्या बढ्न थाल्यो। विदेशबाट बोलाउन थाले। ब्यान्ड यसैमा अभ्यस्त हुन थाल्यो। समय यस्तोसमेत आयो, बजारमा जे निकाल्यो, त्यही हिट हुन थाल्यो। शिव त्यो बेलाको समयलाई ‘पारसमणिको रूप’ भनेर स्मरण गर्छन्। सन् २००६ मा ‘कमसक’ एल्बम आयो। ‘एउटा चिठीको सहाराले’ बोलको गीत अत्यन्त हिट बन्यो। समय डिजिटल युगमा प्रवेश गरेको थियो। शिवले सोचे, म्युजिक भिडियोबिना गीत नचल्ने रहेछ। भिडियोको कन्सेप्ट तयार गरे, पुतलीसडक चोकको एक घरको कौसीमा बसेर कन्सर्ट गर्ने अनि भिडियो खिच्ने। त्यसरी कन्सर्ट गरे सडक र यातायात अवरुद्ध हुन्थ्यो, पुलिस र ट्राफिकले पक्रेर लैजान्थ्यो। अनि त्यो फुटेज सुट गरेर भिडियो बनाउने। तर पछि त्यसले फरक इस्यु खडा गर्ला भनेर प्लान ड्रप गरियो। तर त्यसै तरिकाले न्युरोडको खिचापोखरीमा भिडियो खिच्ने अर्को जुक्ति निकाले। जहाँ दीप म्युजिक सेन्टरको बाल्कुनीमा ब्यान्डका तीन सदस्य अट्ने स्पेस थियो। साहु दीपक दाइ, पुलिस प्रशासन र स्थानीय क्लबसँग अनुमति लिएर शनिबारको दिन भिडियो सुट गर्ने योजना बन्यो। अरू दिन भीड हुन्छ भनेर शनिबार रोजिएको थियो। जब लाइभ कन्सर्ट खिच्न पाँच क्यामरा तयार थिए, चार क्यामरा फिक्स गरेर एउटा मुभिङ क्यामरा राखेर भिडियो खिचियो। दुई घण्टाको लाइभ कन्सर्टसँगै भिडियो सुटसमेत सकियो। धेरै सट हिडन थिए। भिडियोमा रियल एक्सप्रेसन र रियालिटी ह्युमर देखियो। रियल एक्सप्रेसनले भिडियोको स्तर अर्कै बन्यो। भिडियोले समेत गीतको चर्चालाई अझ चुलीमा पुर्‍यायो। संसारका प्राय: ब्यान्डमा देखिने समस्या द एक्स ब्यान्डमा पनि देखियो। १३ वर्ष सँगै यात्रा गरेका लिड गितारिस्ट शरद एक्कासि हङकङ जाने भए। शिव र सुरेन्द्रले अर्कैको मुखबाट शरदको कुरा सुने। त्यो घटना सम्झिएर शिव अहिले पनि मन अमिलो बनाउँछन्। उनी भन्छन्– ‘शरद हङकङ उडेपछि ब्यान्ड ब्रेक गर्ने कि भनेर नि सोच्यौं, सबैले राम्रो गइरहेको यात्रा नरोक्न सुझाए। सुझाव दिनेमा बढी मिडियाका साथी थिए।’
शरदको अनुपस्थितिमा द एक्स ब्यान्डमा कन्ट्याक बेसमा गितारिस्ट आए। तर शिव र सुरेन्द्र स्याथी सदस्यको खोजीमा थिए। शिव भन्छन्– ‘हामीलाई गितारिस्ट मात्र चाहिएको थिएन, राम्रो आचरण, व्यवहार, सांगीतिक र पारिवारिक पृष्ठभूमि भएको सदस्य चाहिएको थियो ।’ उनी थप्छन्– ‘ब्यान्डमा सदस्य आउने जाने क्रम बढ्यो भने त्यसले बाहिर राम्रो सन्देश जाँदैनथ्यो ।’केही समयपछि उनीहरूले खोजे जस्तै ब्यान्ड सदस्य भेटाए, सजलराज भण्डारी। ठमेलमा सुरेन्द्रको रेस्टुरेन्ट थियो, सजल त्यहींगिताबजाउँथे। तीन महिना सजलले परीक्षणको समय गुजारे, सजल त शिव र सुरेन्द्रले सोचेभन्दा नि उम्दा निस्किए। ब्यान्ड सांगीतिक कार्यक्रमका लागि देश–विदेश डुल्दै थियो। कार्यक्रमका लागि तराईका जिल्लामा जाँदा राष्ट्रियता, सीमा विवाद, आम नागरिकको अवस्थालगायत धेरै कुराले शिवको मथिंगल हल्लायो। मायाप्रेमका सामान्य शब्दमा गहिराइ खोज्ने शिवमा राष्ट्रियताका भाव घुस्न थाले। त्यसपछि सीमा मिचिने लगायतका जनजीविकाका मुद्दा समेट्दै उनले गीत लेख्न थाले। ब्यान्डको सांगीतिक करियरले जति आरोह अवरोह पार गर्दै थियो, देशको राजनीतिक अवस्था दिनानुदिन त्यस्तै अनिश्चित बन्दै थियो। माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा थियो। तर शिवले त्यस्ता शब्द लेखे, जसलाई एल्बम बनाएर सार्वजनिक गर्दा सप्ठेरो हुनेवाला थिएन। उनी सम्झन्छन्, ‘देशमा २०/२५ जना मान्छे मर्नु सामान्य थियो। १/२ जना मरेको समाचार समाचार लाग्दैन थिए। त्यो समय एल्बम निकाल्नका लागि उपयुक्त समय थिएन।’ ६२/६३ को जनआन्दोलनपछि मुलुकमा नयाँ माहोल आयो। देशमा अतिवादको राप सेलाउँदै गयो। अनि, सात वर्षको विश्रामपछि सन् २०१३ मा निस्कियो, भडाँस। एल्बमका सिमाना, ग्रिबोको शासन, राम्रो नेपाल, माटो पानी राष्ट्र हाम्रो जस्ता गीत विवादास्पद बने। ‘भडाँस व्यवस्थाप्रतिको विरोध थियो। परिवर्तनका एजेन्डा संस्थागत गर्न नसक्ने नेताप्रतिको आक्रोश थियो,’ शिव भन्छन्। दुर्भाग्य भन्नुपर्छ, एल्बमका गीतलाई राष्ट्रिय मिडियाले एक किसिमको प्रतिबन्ध लगाइदिए। ‘हामीहरूले यथार्थ गीत बनाएका थियौं। तर अनपेक्षित रूपमा मूलधारका मिडियाबाट प्रतिबन्ध खेप्नुपर्‍यो,’ शिव भन्छन्। मिडियामा प्रतिबन्धमा परे पनि सामाजिक सञ्जालबाट भडाँसका गीतहरू भाइरल बने। ‘भूमिगत भएपछि चासो र महत्त्व बेग्लै हुँदोरहेछ, भडाँसलाई मिडियाले रोक्न खोजे पनि सामाजिक सञ्जालमा अझ हिट बन्यो। तिनै गीत सुन्नका लागि मात्र विदेशबाट धेरै माग आए,’ शिव भन्छन्। ब्यान्डले २५ वर्ष पार गर्दैछ। तर जोस अझ बढ्दो क्रममा छ। ‘सुरुमा गाउन मात्र पाए पुग्थ्यो, २० जनाको अगाडि पनि गाइन्थ्यो। तर लाखको हूलमा गाउँदा अझ जोस बढेर आउने रैछ। त्यो बेला पर्फम गरौं भन्ने हुन्थ्यो, अहिले बेस्ट दिनुपर्छ भन्ने लाग्छ,’ शिव भन्छन्। सिल्भर जुब्लीमा एउटा एल्बम दिने सोच छ। त्यसका लागि तीन गीत कम्पोज भइसकेको शिव बताउँछन्। अनि अबको यात्रा चाहिँ? शिव भन्छन्, ‘यात्राको कुनै अन्तिम विन्दु हुँदोरहेनछ। जहाँसम्म सकिन्छ जाने हो।’

Page 25
हेल्लो शुक्रवार

डान्स क्रेज

- विमल खतिवडा

चितवन, भरतपुर १०, दीपेन्द्रचोककी १७ वर्षीया आकांक्षा सापकोटाको बाल्यकालदेखिको रुचि डान्समा थियो। उनी केही समय भयो डान्स क्लास नै लिन थालेको। शिक्षा संकायकी विद्यार्थी उनी नारायणगढको नारायणी कला मन्दिरमा नियमित क्लास लिन्छिन्। उनका गुरु हुन्– डान्स इन्स्ट्रक्टर सुमित हमाल। ‘यसैमा करियर बनाउने सोच छ,’ उनी भन्छिन्, ‘फेमिलीबाट राम्रो सपोर्ट छ।’ डान्स सिक्न थालेपछि कन्फिडेन्स बढेको उनी सुनाउँछिन्। उनी मात्र होइन, टाढाटाढादेखि हूल बाँधेर डान्स सिक्न आउनेको कमी छैन। ‘पहिला बोल्न सक्दिन थिएँ, नयाँ मान्छे देख्दा लाज लाग्थ्यो,’ नवलपरासी गैंडाकोटका किरण सुनारी मगर भन्छन्, ‘कला मन्दिरमा डान्स सिक्न थालेको ९ वर्ष भयो, अहिले बोल्न र धक फुकाएर नाच्न सक्ने भएँ।’ गाउँघरमा परिचय फेरिएको छ। डान्स सिकेर अरूलाई पनि सिकाउने गरेकाले किरणलाई गुरुका रूपमा सम्बोधन गर्ने धेरै छन्। २४ वर्षीय उनले केही समय निजी स्कुलमा डान्स टिचरका रूपमा काम गरे। अहिले पनि उनका लागि थुप्रै अवसर आएका छन्।
डान्स सिक्नेहरू सबैले आत्मविश्वास बढेको महसुस गर्दैछन्। क्षेत्रपुरका नीरज घिमिरे, बसेनीकी सुनिता खड्का, कल्याणपुरकी सपना श्रेष्ठ प्राय: स्टेजमा देखिरहने कलाकारभित्रमा पर्छन्। पछिल्लो समय निजी स्कुलले डान्स टिचर राख्न थालेकाले उनीहरूका लागि रोजगारीसमेत सहज भएको छ।
नवलपरासी भैंसाखोरीकी यमु थापाले डान्स सिक्न थालेको एक वर्ष भयो। तर एक दर्जनको संख्यामा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। ‘पहिला कसैले चिन्दैन थिए,’ उनी भन्छिन्, ‘अहिले त सेलिब्रिटी नै भइएको छ, म्युजिक भिडियोका लागि पनि राम्रै अफर आइरहेको छ।’ ‘पहिलाभन्दा डान्स सिक्न आउने युवा पुस्ताको संख्या दोब्बरले बढेको छ,’ इन्स्ट्रक्टर लामा भन्छन्, ‘मिहिनेत गरेर यही क्षेत्रमा अघि बढे करियर बनाउन समस्या छैन।’ उनले युट्युबमा फिल्म, पप, आधुनिक गीतको नृत्य गरेर भिडियो राख्ने क्रम बढेपछि डान्सको क्रेज बढेको छ।
५४ वर्ष पुरानो कला मन्दिर स्थापनाकालदेखि कला क्षेत्रमा नयाँ प्रतिभाका लागि प्लेटफर्म बन्दै आएको छ। ‘समाजमा सबै क्षेत्रमा गुम्सिएर बसेका प्रतिभा धेरै छन्,’ कला मन्दिरका कार्यवाहक अध्यक्ष अमरदेव प्रधान भन्छन्, ‘त्यसमा पनि अहिले प्रविधिसँग रमाइरहेका युवा जमातमा थुप्रै प्रतिभा छन्।’ उनका अनुसार यही थलोमा डान्स सिकेर करियर बनाउनेहरूमा नायक
गणेश उप्रेती, नायिका मौसमी मल्ल, मोडल पूर्णिमा श्रेष्ठ, बेली डान्सर प्रमिला खनाललगायत छन्।

हेल्लो शुक्रवार

वाइल्ड वेस्ट

- सुरज कुँवर

अचेल पश्चिम नेपालको पर्यटन क्षेत्रमा ‘वाइल्ड वेस्ट’ भन्ने शब्दावली खुबै सुनिन्छ। ‘गो वाइल्ड, मिट पिपुल, फिल नेचर,’ मध्य र सुदूरपश्चिमका पर्यटकीय थलो र गतिविधिलाई चिनाउन उताका व्यवसायीहरूले यसै भन्छन्। अबको प्रान्तीय मोडलमा पश्चिम नेपालको पर्यटन क्षेत्रलाई नजरअन्दाज नगर्न सबै सरोकारवालालाई खबरदारी गर्दै यसै साता काठमाडौंमा प्रचारका लागि ओर्लिएका त्यहाँका व्यवसायीले भने, ‘अब पालो पश्चिम नेपालको।’मनसुन बिदामा बाक्लो जंगल वा पदयात्रा, अनुसन्धान, खोज, रुझ्दै/भिज्दै नयाँ ठाउँमा नयाँ तरिकाले घुम्ने सोच बनाइरहनुभएको छ भने पश्चिम नेपाल एउटा फरक गन्तव्य हुन सक्छ। काठमाडौं आसपासबाट केही टाढाको रुचि भएकाहरूका लागि त्यो भेगको अनुभव नवीनतम हुन सक्नेछ। किनकि व्यवसायीहरूले त्यहाँका धेरै गन्तव्य र प्रोडक्टलाई भर्जिन भनेका छन्। अनि पश्चिम नेपाल घुम्नलाई ६ देखि १६ दिन छुट्याए पुग्छ। काठमाडौंदेखि नेपालगन्ज वा धनगढीसम्म वायुयान वा बस दुवैबाट सजिलै पुग्न सकिन्छ।
‘पहिले जस्तो सडकले नजोडिएको, टुरिस्ट होटलको अभाव, गाइड नपाइने, गन्तव्य नपुगिने दिन सकिए,’ धनगढीमा पर्यटकीय होटल चलाउँदै आएका कृष्णबहादुर महरा क्षत्रीले भने, ‘दिल्लीबाट बस चढेर आउनुहुन्छ वा काठमाडौंबाट जहाज चढेर, घुम्नेहरूका लागि १२ महिनाभरका प्याकेज छन्। उनले भने, ‘यार्चा पाइने दार्चुलामाथिको लेकमा पर्ने अपी नाम्पा हिमाल र बझाङको साइपाल हिमाल आरोहणको दस्तुर नै लाग्दैन। यी अझै भर्जिन नै छन्। रेकर्ड राख्ने सपना देख्नेहरूका लागि यी अवसर हुन्,’ महराले भने। ११ वर्ग किलोमिटर क्षेत्रफलको मनमोहक रारा, त्यसमुन्तिर ३ हजार मिटरभन्दा माथिको ग्रास खप्तड, भीर माहुरीको बासस्थान रामारोशन, उँचो पत्थरमाथि फैलिएको बडिमालिका, पहाडकी रानी भनिने अनि थुप्रै हिमचुचुरा देखिने डडेल्धुरा यस क्षेत्रका खास आकर्षण हुन्। जसलाई प्रोमट गर्न र स्वदेशी/विदेशी ब्याकप्याकरलाई त्यहाँसम्म पुर्‍याउन थुप्रै गाइड, टुर/ट्राभल अपरेटर अनि बसोबासका लागि १ अर्ब हाराहारी होटलमा लगानी भइसकेको महराले सुनाए। अर्का पर्यटन व्यवसायी सञ्जयकुमार चौधरी भन्छन्, ‘हामीसँग र्‍याफ्टिङमा नेपालकै लामो नदी कर्णाली अनि सहर माछाका लागि प्रख्यात सेतीलगायतका नदी छन्। जसको सफल परीक्षण भइसकेको छ।’ उनले र्‍याफ्टिङबाहेक रिभर एक्टिभिटीमा कायकिङ, बर्ड बाचिङ पनि हुने गरेको सुनाए।
मध्य र सुदूरलाई जोडेर बनाइएको पश्चिम नेपाल अर्थात् वाल्इड बेस्टमा बाघकै सबैभन्दा बाक्लो उपस्थिति रहेको बर्दिया राष्ट्रिय निकुञ्ज, डल्फिनका लागि प्रख्यात चिसापानी कर्णाली आदि छन्। यस क्षेत्रको संस्कृति, रहनसहन पनि विविधतापूर्ण छ। काठमाडौं अनि गोल्डन ट्रयांगल भनिने पोखरा, चितवनसँग मात्रै जोडिएको पर्यटन गतिविधिलाई पश्चिम नेपालसम्म तन्काउने उद्देश्य राखेर जुटेका त्यस भेगका व्यवसायीले अब बझाङ र धनगढी विमानस्थललाई मानसरोवरसँग जोड्ने सपना देख्न थालेका छन्। ‘भारतीय तीर्थयात्रीहरूको मानसरोवरमा आकर्षण बढ्दै गएकाले नेपालबाट पायक पर्ने धनगढी–बझाङको हवाई रुटलाई चलाउने तयारी गरिरहेका छांै,’ महराले भने। अन्नपूर्ण, एभरेस्ट, लुम्बिनी, पोखरा, चितवनको अनुभव बटुलिसकेकाहरूका लागि पश्चिम नेपाल अर्को फेल्भर हो। टेस्ट कसरी गर्ने? तपाईंको जो इच्छा।

Page 26
हेल्लो शुक्रवार

वृक्ष गिफ्ट !

- दुर्गालाल केसी

घोराही १४ की लक्ष्मी केसीले छोरा युजेन र छोरी आयुष्कालाई उपहारस्वरूप एक/एक बिरुवा रोपिदिइन्। घोराहीका देव यादवले वैवाहिक उत्सवका अवसरमा श्रीमती आरएल जोशीलाई उपहारस्वरूप एक बिरुवा रोपे। मावि नारायणपुरका प्रधानाध्यापक टोपबहादुर केसीले स्वर्गीय आमा पञ्चकली केसीको स्मृतिमा त्यसै गरे। घोराहीमा प्रियजनलाई उपहारस्वरूप केही सामान किनेर दिनुको साटो आफन्तको नाममा खर्चिलो दान दातव्यका ठाउँमा बिरुवा रोप्ने चलन निकै लोकप्रिय बन्दै गएको छ। रोपिएको बिरुवाको संरक्षण हुने र बिरुवाले सधैं आफन्तको सम्झना दिलाइरहने भएकाले यस्तो अभियान थालिएको हो। घोराहीको वनगाउँस्थित बराहक्षेत्र माविमा रहेको खाली जग्गामा कसैको सम्झना या उपहारस्वरूप वृक्षरोपण गर्ने गरिएको छ।
पूर्वविद्यार्थी र विद्यालय प्रशासनले बिरुवाको संरक्षणमा सबैको चासो वृद्धि गर्न यस्तो नयाँ अभियान सुरुवात गरेको हो। ‘बिरुवा त हामी आफंै पनि सयौंको संख्यामा रोप्न सक्छौं तर त्यसको संरक्षणमा कसैको चासो हुँदैन,’ पूर्वविद्यार्थी समाजका सदस्य माधव केसीले भने, ‘आफन्तको नाममा बिरुवा रोपिए त्यसको संरक्षण गर्न सम्बन्धित व्यक्ति नै जिम्मेवार हुने भयो। पटकपटक बिरुवा हेर्न र पानी चार्न आफैं आउने भए। यसले अपनत्व बढाउँछ।’
रूखबिरुवाप्रति मानिसको मोह बढाउन र वातावरण संरक्षणमा सबैको चासो वृद्धि गर्न यस अभियानले सघाउ पुर्‍याएको पूर्वविद्यार्थी समाजकी सदस्य लक्ष्मी केसीले बताइन्। ‘आफूले रोपेको बिरुवा संरक्षण गर्न सम्बन्धित मानिसलाई नै बढी चासो हुन्छ। आफ्ना प्रिय मानिसको सम्झनामा रोपिएकाले पटक–पटक हेर्न जाने पनि भयो,’ उनले भनिन्, ‘बिरुवा जीवित हुँदासम्म आफन्तको सम्झना भइरहने भयो। वातावरण संरक्षणमा टेवा पुर्‍याउँदै जलवायु परिवर्तनका असरलाई कम गर्न र विद्यालयको आम्दानीको स्रोत बढाउन स्मृति वृक्षको अवधारणा ल्याइएको प्रधानाध्यापक बाल्मी केसीले बताइन्। ‘स्वर्गीय आफन्तको स्मृतिमा मानिसहरू ठूलो धनराशि दान गर्छन् तर निधन भएका मानिसले पाए नपाएको केही थाहा हुँदैन,’ उनले भनिन्, ‘यहाँ एउटा बिरुवा रोपेमा यो वर्षौंसम्म रहिरहन्छ। यसले वातावरण स्वच्छ हुनुका साथै आफन्तको सम्झना दिइरहन्छ।’वैशाख १ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले शुभारम्भ गरेको स्मृति वृक्षको अभियानअन्तर्गत हालसम्म १ सय ७५ बिरुवा रोपिएको प्रअ केसीले बताइन्। अब ३ सय बिरुवा पुर्‍याउने लक्ष्य रहेको उनले जानकारी दिइन्। अधिकांश फलफूलका बिरुवा रोपिएकाले पछि आम्दानी बढ्ने विद्यालयको अपेक्षा छ। यो अभियानमा अन्य विद्यालयलाई पनि प्रोत्साहन गर्न बिरुवाबाट प्राप्त आम्दानीको ७० प्रतिशत विद्यालयले राख्ने र ३० प्रतिशत स्मृति वृक्षरोपणको काम गर्न चाहने नयाँ विद्यालयलाई सहयोग गर्ने केसीले बताइन्। ‘ठूलो जमिन खेर गइरहेका धेरै विद्यालय छन्। आम्दानी नभएर विद्यालय चलाउन कठिन भएको देखिन्छ। कसैले वृक्षरोपणको काम गर्न चाहन्छ भने हामी आम्दानीको ३० प्रतिशत सहयोग गर्छौं,’ उनले भनिन्, ‘त्यसपछि उक्त विद्यालयले पनि यही क्रमले अन्य विद्यालयलाई सहयोग गरेर विद्यालयमा हरियाली बढाउने अभियान चलाउने योजना छ।’बिरुवा संरक्षणका लागि विद्यालयले प्रतिबिरुवा एक हजार रुपैयाँ सहयोग लिने गरेको छ। विद्यालयले उक्त रकमबाट बिरुवा किन्ने, वृक्ष रोप्नेको नाम, विवरण टाँस्ने, संरक्षण र गोडमेलको व्यवस्था मिलाउने गरेको छ। प्रत्येक बिरुवाको छेउमा उपहार दिनेको नाम विवरण लेखेर राखिन्छ। यसले गर्दा दीर्घकालसम्म पनि उपहार जीवित रहने केसीले बताइन्।

हेल्लो शुक्रवार

आऊ बढाऊ हातहरु...

 

पोखरेली युवती सरिता गुरुङको कुदाकुद हेर्न लायक छ। अघिल्लो आइतबार पोखराबाट काठमाडौं आएकी उनी भोलिपल्टै चाँगुनारायणमा थिइन्, पर्सिपल्ट बुङमती। मंगलबार बिहान भने उनी चरिकोट पुगिसकेकी थिइन्। ‘कुदाकुद आफ्ना लागि होइन, अरूका लागि,’ दरबारमार्गमा छोटो भेटघाटमा आइपुगेकी सरिताले सुनाइन्, ‘कतै कोमामा रहेका बिरामीको ‘घर सपना’ पूरा गर्न लागिरहेकी छु, कतै बहिरा बालबच्चाका लागि होस्टल बनाउनमा जुटेकी छु।’ २७ वर्षीया सरिता अहिले फेसबुक र
ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत परोपकारी जगत्मा चिनिएकी छन्। १० वर्षयता हितकारी सामाजिक र मानवीय काममा जुटिरहेकी सरिता अहिले आफैंमा ‘अभियान’ बनेकी छन्। ‘२०६२ सालमा कास्कीको ढिकुरपोखरीको एउटा घटना आँखैसामु देखियो– ५७ वर्षीय कान्छा रानाभाटको। बेसहरा र एक्ला पात्र कान्छा घाँसदाउरा गर्न दुर्घटनामा परेका रहेछन्, रूख लडेर थिचिएपछि उनी बिकलांगझैं भएका थिए। त्यो घटना थाहा पाएर काठमाडौंमा पीके क्याम्पसमा अध्ययनरत सरिताले कान्छालाई पशुपति वृद्धाश्रममा ल्याएर राखेकी रहिछन्। कान्छाको केही वर्षपछि वृद्धाश्रममै मृत्यु भएको थियो।
कास्कीकै भाचोक, मकैखोला गाउँकी १९ वर्षीया बुद्धिमाया गुरुङको केस पनि त्यस्तै जटिल थियो। उनी डेढवर्षे नानीकी आमा थिइन्। दुवै मृगौला फेल भएकी र डाइलाइसिस गर्ने खर्चसमेत नभएकी बुद्धिमायाका बारेमा पनि सरिताले फेसबुकमार्फत थाहा पाएकी थिइन्। ‘कतारमा रहेका बुद्धिमायाका जेठाजुले आफ्नी बुहारीको स्थितिका बारेमा फेसबुकमा लेखेपछि मैले फलो गरेकी थिएँ,’ सरिता सम्झिन्छिन्, ‘बुद्धिमायाको केस मेरो जीवनकै र सामाजिक कामकै टर्निङ–प्वाइन्ट बन्यो। बुद्धिमायाको स्थितिका बारेमा फेसबुकमा फोटो अपडेट गर्नासाथै अप्रत्याशित रूपमा सहयोग जुट्न थाल्यो। सुरुमा बेल्जियमबाट सुवास गुरुङ दाइले ६२ हजार दिनुभयो। एक साताभित्रैमा मेरो नामकामलाई विश्वास मिल्यो।’ बुद्धिमायाको उपचारमा देश–विदेशबाट गरेर झन्डै १० लाख रुपैयाँ सहयोग उठेको रहेछ तर, मृगौला दिने दाता भेटिएनछ। पोखराको गण्डकी हस्पिटलबाट बुद्धिमायाको डाइलाइसिस भइरहेको थियो। समय बित्दै जाँदा उनलाई बचाउन त सकिएन तर सबै खर्च कटाएर साढे ५ लाख रुपैयाँ नाबालक छोरीको नाममा राखिदिन सम्भव भयो। सरिताकी आमा मैताकुमारी गुरुङ पाउँधुर गाउँमा चिनिएकी समाजसेवी हुन्। उनी गाउँको आमा समूहमा अध्यक्ष छिन्। ‘अरूको संघर्ष र दैनिकी हेरिकन अलिकति सहज र सुविधाको जीवन पाइसकेपछि कम्तीमा एक/दुई असहायको सेवा गर्न सक्नुपर्छ भनेर मैले आमाबाटै सिकेकी हुँ,’ सरिता भन्छिन्। सेवा र सहयोगको भावना झाँगिँदै गएपछि र सहयोगको सूची थपिँदै गएपछि सरिताले भर्खरै हङकङ पुगेर आफ्नै नाममा फाउन्डेसन खोलिसकेकी छिन्। ‘यसरी सक्रिय रूपमै स्थापित भएको ५ वर्ष भइसकेको छ,’ उनले थपिन्, ‘यसबीचमा २६ भन्दा बढी अभियान/केसमा सफलताका साथ काम गरेका छौं।’ उनले पीडितको केस अथवा जटिल मानवीय समस्याका बारेमा पत्रपत्रिका पढेर सूचना बटुल्ने गरेकी छन्। त्यसमा जिल्ला तहमा केसको पुष्टि गराएपछि मात्रै उनका सहयोगी हातहरू अघि बढ्ने गरेका छन्। जस्तो, क्यान्सर रोगबाट ग्रसित डा. चित्र वाग्ले दिल्लीको राजीव गान्धी हस्पिटलमा उपचाररत रहेको थाहा पाएर उनले वाग्ले बचाउ कोषमा झन्डै १ लाख रुपैयाँ तत्कालै हालिदिएकी थिइन्। डा. वाग्लेले चिनजानबिनै दिल्लीबाट फोनमा भनेका थिए, ‘सरिता बहिनी, म तपाईंको सहयोगले एक पल भए पनि बढी समय बाँचेको छु।’ पोखराकै ५ वर्षीय रितेश श्रेष्ठलाई रक्त क्यान्सर भएको थियो। त्यसमा बचाउ अभियान सुरु गर्दैगर्दा ४५ हजार रुपैयाँ उठेको थियो, तर रितेश बितिहाले। ‘यी घटनाबाट भने आशा नहुने कुराहरूमा अलिक ‘ब्याक’ हुनुपर्ने रहेछ भन्ने लाग्यो,’ उनी भन्छिन्।
यसपछि सरिताले सिन्धुपाल्चोकको जुरे पहिरोमा बिकलांगका लागि एक अपांग घर बनाउन भ्याइन्। त्यहाँ कम्मरमुनि नचल्ने १४ वर्षीय बखत पहरीले सेवा सुविधा पाएका छन्।
५० भन्दा बढी बालबच्चा बस्ने बुङमतीको अपांग सेवा संघदेखि नेपाल अपांग सेवा संघ, बुटवलका लागि सहयोग दिलाउन सरिताको सामाजिक सञ्जाल अभियान सक्रिय छ। यस्तै, कास्कीको खारपानी पहिरोपीडितका लागि मद्दत गर्नेदेखि दोलखाको भीमेश्वर बहिरा प्राथमिक विद्यालयलाई २० लाख रुपैयाँको होस्टल बनाउने काममा उनी जुटेकी छन्।
‘चाँगुनारायण–४ मा बस्ने ४२ वर्षीय रामकृष्ण सार्की जो वैदेशिक रोजगारीमा गएका बेला मुटु उपचारका क्रममा कोमामा गएका थिए, उनका लागि घर बनाउँदै छौं। रोजगारीमा साउदी रहेकै बेला श्रीमतीले पनि छाडेको र ३ बालबच्चाको जिम्मेवारी बूढा बाआमाले लिएको अवस्थामा ७ लाख रुपैयाँको घर बनाइदिने क्रममा छौं,’ सरिताले सुनाइन्, ‘सार्की दाइको घर भूकम्पले भत्काइसकेको छ। उनी बोल्न र हलचल गर्न सक्दैनन्। तर सामु पुग्दा सबै कुरा बुझेजस्तो ‘फिल’ हुन्छ।’ सरिताले फेसबुकमा पीडितको कुरा, समस्या र केस जानकारी गराएपछि युरोप, अमेरिकादेखि खाडी मुलुकसम्मका सहयोगी दाताहरू भरथेग गर्नमा अगाडि आउने गरेका छन्। ‘मेरा दाताहरू साउदी, कतारमा पनि उत्तिकै छन्। किनभने खाडीमा श्रम गर्न गएकाहरूले दु:ख बुझेका छन्। त्यसैले उनीहरू बढी सहयोगी पनि छन्,’ सरिता भन्छिन्, ‘म गुरुङ भएर गुरुङबाटै मात्रै सहयोग पाएको छु भन्ने छैन, म गुरुङ भएर गुरुङकै लागि मात्रै सहयोग गर्छु भन्ने पनि होइन। ‘एउटी गुरुङ छोरी भएर गुरुङ कम्युनिटीकै लागि किन भिज्दैनौ?’ भनिरहन्छन्। मेरो समाजसेवामा जाति, क्षेत्रभन्दा बढी मानवता हावी छ।’ दुई वर्षअघि बिहे गरेकी सरिताका श्रीमान् अमेरिकामा छन्, उनी पनि श्रीमतीको मानवीय सदिच्छामा सहयोगी बनेर जोडिएका छन्। यसपटक काठमाडौं आएर भने सरिताले तनहुँ घर भएकी ६० वर्षीया तुलसीदवी खत्रीलाई ‘नयाँ जीवन’ दिलाएकी छन्। तुलसीदेवीको दुई वर्षअघि हात भाँच्चिएपछि भरतपुर लगेर प्लास्टर गरेकामा असफल भएको थियो, तिनै आमाको बाँगो देखिएको हातका बारे फेसबुक चर्चा गर्नासाथै देश–विदेशबाट झन्डै २ लाख रुपैयाँ सहयोग उठेको थियो। संयोगले तुलसीदेवीको हात चाबहिलस्थित हेल्पिङ हेन्ड कम्युनिटी हस्पिटलले नि:शुल्क रूपमा उपचार पनि गरिदियो। ‘यसरी अरूले पाएको खुसीमा आफैं खुसी हुन सकिन्छ भनेर यतातिर लागेकी हुँ, अब त लतजस्तो भइसक्यो,’ उनी भन्छिन्। यसरी सुरु सुरुका दिनहरूमा छोरी कता हो कता कुदेको देखेर घरपरिवारमा पनि दिक्कै मान्ने रहेछन्। घरले भन्दा बाहिरकाले गर्ने निन्दा चर्को हुन्थ्यो। तर, ६२ वर्षीय बाबु खड्गबहादुर र आमा मैताकुमारी छोरीको काममा ‘कन्भिन्स’ भएपछि कसैको निन्दाले केही हुनेवाला थिएन।खुसी हुन र खुसी बाँड्न ठूला कुरा भइरहनुपर्छ भन्ने केही छैन। जस्तो, दुई महिनाअघिको स्थानीय निकाय निर्वाचनमा झापाको शिवसतासीका एक बिकलांग युवा अरूको भरथेगमा भोट हाल्न गएका थिए। त्यो खबर कान्तिपुर समाचार हुँदै सरिताको फेसबुकमा भाइरल बनेपछि ती युवाले लगत्तै ह्विलचेयर उपहार पाए, हङकङबाट सहयोग आएको थियो। ‘यसरी साना सहयोगमा पनि ठूलो खुसी जोडिन्छ,’ सरिता भन्छिन्।

चटपट–झटपट

परीक्षामा सारा र अश्लेषा

आज शुक्रबारदेखि दुई फिल्म ‘रुद्र’ र ‘प्रेमगीत २’ रिलिज भएका छन्। दुवै फिल्मबाट नायिकाले डेब्यु गर्दैछन्। निखिल उप्रेती स्टारर ‘रुद्र’ मा साराले भने नयाँ हिरो विश्वसँग जोडी जमाएकी छन् भने ‘प्रेमगीत २’ बाट डेब्यु गरेकी अश्लेषा ठकुरीले भने प्रदीप खड्कासँग स्क्रिन सेयर गरेकी छन्। दुवै नायिकाका लागि यो साता खरो उत्रनका लागि अग्निपरीक्षा हो।
तर फिल्म रिलिज अगावै सारा भने निखिलकै अर्को फिल्म ‘पिँजडा ब्याक अगेन’ मा दोहोरिने भइसकिन्। जबकि निखिलले पनि ‘पिँजडा’ बाटै डेब्यु गरेका थिए। उक्त फिल्मको सिक्वेलमा सारालाई निखिलले पत्याउनुमा ‘रुद्र’ मा उनले गरेको काम पो हो कि? यसो हो भने सारा एक तह माथि उक्लिसकेकी छन्। अश्लेषा भने अरू कुनै फिल्ममा अनुबन्ध भइसकेको खबर आएको छैन। जबकि ‘प्रेमगीत २’ टिमले नै केही अघि ‘दीपेन्द्र सरकार’ निर्माणको घोषणा गरेको थियो जसमा नायकका रूपमा प्रदीपलाई दोहोर्‍याइने बताइए पनि नायिका अश्लेषालाई भने लिइसकिएको छैन।

 

चटपट–झटपट

झमेला नाइलनको साडीलाई

- सुशील पौडेल

ए दाजु नसमाऊ नाडीमा जान्न म त डिजेलको गाडीमा हिलो लाग्ला नाइलनको साडीमा
फिल्म ‘छक्का पञ्जा २’ ले सार्वजनिक गरेको उक्त नयाँ गीत यतिबेला चर्चासँगै विवादमा तानिएको छ। रिलिजको पाँच दिन नपुग्दै गीतले २० लाख भ्युअर्स पाइसकेको छ भने त्यही गीत हेरेर कमेन्ट्स गर्ने पनि तीन हजार नाघिसकेको छ। लोकभाकाका रूपमा गाइँदै आएको गीतलाई गायक अल्मोडा राना उप्रेतीले वास्तविक संकलक स्वर्गीय कान्छा मगर नेपालीलाई छायामा पारेर आफूले जस लिन खोजेपछि विवाद निम्तिएको थियो। गीत नै चोरेको आरोप लागेपछि फिल्मका निर्माता दीपकराज गिरीले वास्तविक सर्जकलाई नचिनाई अल्मोडाले आफूहरूलाई समेत अँध्यारोमा राखेको भन्दै कान्छा मगरप्रति अन्याय भएकोमा दु:ख व्यक्त गरे। त्यसो त उक्त गीतमा विवाद आउनुअघि नै भिडियोसमेत विवादित बनेको थियो। गीतको बोलमा हिलो लाग्ला नाइलनको साडीमा भनिए पनि अभिनय गर्ने नायिकाद्वय वर्षा राउत र स्वस्तिमा खड्कालाई साडी नलगाई नचाइएकामा आलोचनासमेत भइरहेको छ। तर निर्माण पक्षले भने फिल्मको मुडले उक्त प्रश्नको जवाफ दिने भएकाले रिलिज मिति असोज ११ सम्म कुरिदिन आग्रह
गरेको छ।

चटपट–झटपट

रफटफ बन्न थाले चकलेटी हिरो

चकलेटी लुक्स लिएर हिरोका रूपमा ‘होस्टेल’ बाट डेब्यु गरेका अनमोल केसी चौथो फिल्ममा आइपुग्दा आफूलाई बदलेका छन्। ‘कृ’ मा उनी रफटफ गेटअपमा एन्टी हिरोको छविमा देखिनेछन्। रिभेन्ज लभस्टोरी बताइएको सुरेन्द्र पौडेल निर्देशित उक्त फिल्ममा अनमोल लामो कपाल अनि दाह्री–जुँगासहितको गेटअपमा देखिँदैछन्। केहीअघि मात्रै फिल्मको फस्टलुकमा अनमोलको सोही गेटअपलाई रिभिल गरिएपछि खुबै चर्चा पाए। जबकि यसअघि उनको कोरियन शैलीको लुक्स रुचाउनेको संख्या पनि ठूलो थियो।फ्लोरमा जाने अन्तिम समयमा आएर अनमोलले ‘ग्याङस्टार ब्लुज’ नखेल्ने भए। निर्देशक हेमराज बीसीले लगातार दुई फिल्ममा अनमोललाई खेलाइसकेका थिए भने उक्त फिल्ममा उनको गेटअप र रोल चेन्ज गरी खेलाउन चाहेका थिए। तर कुरा मिलेन। अनमोलले ‘ग्याङस्टार ब्लुज’ का लागि सुरु गरेको तयारी पछि ‘कृ’ मा उपयोग गरिदिए। त्यसपछि निर्माता सरोज न्यौपाने र निर्देशक हेमराजले अनमोलको सट्टामा आसिरमान देशराज जोशीलाई ब्रेक दिए। टिनएजमै रहेका आसिरमानले भने फिल्मको सुरुवात नै रफटफ हिरोका रूपमा गरे। त्यसका लागि उनी पनि लामो कपाल अनि दाह्री–जुँगामा नै देखिए। ‘ग्याङस्टार ब्लुज’ पनि रिभेन्ज लभस्टोरी नै हो। यसमा आसिरमान फिल्मको निश्चित समयसम्म चकलेटी लुक्समै देखिनेछन् भने जब फिल्मको कथाले गम्भीर मोड लिँदै जानेछ, उनको गेटअप पनि रफ हुँदै जानेछ। जेहोस्, पछिल्लो समय नायकहरूमा पनि पर्दामा सफाचट हिरोका रूपमा देखिनमा भन्दा चरित्रमा छिर्नका लागि गेटअपमा बदलाव ल्याउन खोज्ने र अभिनेता बन्न प्रयास गर्ने हुटहुटी देखिन थालेको छ।

Page 27
चटपट–झटपट

क्रेजी ट्रान्सफर

- विनोद पाण्डे

फ्टब्याक बेन्जामिन मेन्डी गत वर्षसम्म खासै नसुनिएका नाम हुन्– विश्व फुटबलमा। गत वर्षको जुनमा उनलाई फ्रेन्च लिगको टोली मोनाकोले अनुबन्धित गरेको थियो। उनी आएपछि मोनाकोको दिन फिर्‍यो। स्टार खेलाडीले भरिएको पेरिस सेन्ट जेर्मेनको आधिपत्यलाई तोड्दै मोनाकोले १७ वर्षपछि फ्रेन्च लिगको उपाधि नै उचाल्यो। मोनाकोमा नाम चलेका थोरै खेलाडी थिए। अरू मेन्डी जस्तै नयाँ खेलाडी। टोलीले युरोपियन च्याम्पियन्स लिगमा पनि बेजोड प्रदर्शन गर्‍यो र महँगा खेलाडीहरूले भरिएको म्यानचेस्टर सिटी एवं बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै सेमिफाइनलसम्म पुग्यो। २३ वर्षे फ्रेन्च खेलाडी मेन्डीले ३४ खेल खेले र यसले उनको प्रदर्शनलाई पनि उकास्यो। उनी ५ करोड २० लाख पाउन्डमा सिटीमा अनुबन्धित भए, जसले उनलाई विश्वकै महँगो रक्षक बनायो।
राइट ब्याक केयल वाल्कर ४ करोड ५० लाख पाउन्डमा सिटीमा आएको एक साता मात्र भएको छ। पाब्लो जाबालेटा, एलेक्जान्डर कोलारोभ, बाकारी साङ्गालाई रिलिज तथा गोलरक्षक जोई हार्टलाई दोस्रो सिजन पनि लोनमा पठाएपछि आबुधाबीका धनाढ्य शेख मन्सुरको स्वामित्वमा रहेको सिटीले नयाँ खेलाडी लिन ठूलो खर्च गरिरहेको छ। मेन्डी र वाल्करबाहेक पोर्चुगलका मिडफिल्डर बर्नान्डो सिल्भा ४ करोड ३० लाख पाउन्ड, ब्राजिलका गोलरक्षक इडरसन मोराइज ३ करोड ५० लाख पाउन्ड र रक्षक डानिलो २ करोड ६५ लाख पाउन्डमा ट्रान्सफर फिमा सिटी आएका छन्।
प्रिमियर लिगका क्लबहरूले नयाँ सिजन सुरु हुनु अगाडि ट्रान्सफर तताएका छन्। रोमन लुकाकु ७ करोड ५० लाख पाउन्डमा एभर्टनबाट म्यानचेस्टर युनाइटेड गएका छन्। यो इंग्ल्यान्डमा एकबाट अर्को क्लबका खेलाडीमाथि लगाइएको सबैभन्दा बढी रकम हो। चेल्सीले स्पेनिस स्ट्राइकर अल्भारो मोराटाका लागि रियल म्याड्रिडलाई ६ करोड पाउन्ड तिरेको छ। त्यस्तै लियोनबाट स्ट्राइकर एलेक्जेन्ड्रे लाकाजेट ४ करोड ६५ लाख पाउन्डमा आर्सेनल, डिफेन्सिभ मिडफिल्ड टिइमोउई बाकायोको ४ करोड पाउन्डमा चेल्सी, मोहम्मद सालाह ३ करोड ४० लाख पाउन्डमा लिभरपुल र स्विडिस रक्षक भिक्टोर लेन्डेलोफ ३ करोड १० लाख पाउन्डमा म्यानचेस्टर युनाइटेड आएका छन्। न्युक्यासल यसै सिजन च्याम्पियनसिपबाट प्रिमियरसिप उक्लेको हो। च्याम्पियनसिपबाट उक्लने क्रममै ५ करोड पाउन्ड खर्चेको न्युक्यासललाई प्रमोसन भएसँगै टोलीका मालिकले व्यवस्थापक राफा बेनिटेजलाई १० करोड पाउन्ड राम्रा खेलाडी भित्र्याउन रकम
छुट्याइदिने बताएका थिए। तर इंग्ल्यान्डका ठूला क्लबले राम्रा खेलाडी भित्र्याउन नगदको ओइरो लगाएपछि न्युक्यासल टुलुटुलु हेरेर बस्न बाध्य भएको छ। त्यसैले बेनिटेजले यसलाई ‘क्रेजी ट्रान्सफर’ भनेका छन्। उनलाई मालिकले जति ट्रान्सफर रकम छुट्याइदिएका छन्, अहिलेको चल्तीमा त्यो २–३ राम्रा खेलाडीलाई लिन मात्र पर्याप्त छ।
इंग्लिस क्लबका अगाडि त युरोपका ठूला क्लबहरू पनि ट्रान्सफरमा मूकदर्शक छन्। यसको मूल कारण इंग्लिस प्रिमियरसिपको लोकप्रियता हो। टेलिभिजन प्रत्यक्ष प्रसारण अधिकार बेचेर इंग्ल्यान्ड फुटबल एफएले ठूलो रकम पाउँछ। त्यो रकम क्लबहरूमा बाँड्ने गरेको छ। प्रिमियर लिग जितेको चेल्सीले १५ करोड ३२ लाख पाउन्ड पाएको थियो। चेल्सीको २८ खेल प्रत्यक्ष प्रसारण भएका थिए। म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटीको पनि २८–२८ तथा लिभरपुलको प्रिमियर लिगमा ३६ मध्येको २९ खेल प्रत्यक्ष प्रसारण भएको थियो। सिटीले १४ करोड ९४ लाख र लिभरपुलले १४ करोड ८४ लाख पाउन्ड टेलिभिजनको प्रत्यक्ष प्रसारण अधिकारबाट पाएको रकम थियो। आर्सनल र टोटनहमको २५–२५ खेल प्रत्यक्ष प्रसारण हुँदा उनीहरूले क्रमश: १४ करोड २७ र १४ करोड ८५ लाख पाउन्ड पाए। रियल म्याड्रिडले च्याम्पियन्स लिग जितेपछि प्रत्यक्ष प्रसारणबाट ८ करोड ९५ लाख पाउन्ड पाएको थियो। जबकि प्रिमियर लिगको पुछारमा रही रेलिगेसनमा परेको सन्डरल्यान्डले नै झन्डै ९ करोड ९९ लाख पाउन्ड रकम पायो। प्रिमियर लिगका टोलीले यसपटक जुन रकम खर्च गरेका छन्, त्यसलाई सुरुआत मान्दा पनि हुन्छ। अर्को २–३ वर्षमा प्रिमियर लिगका क्लबहरूले ट्रान्सफरका सबै कीर्तिमान तोड्न सक्छन्।