You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

‘भनसुन र भागबन्डा’ कै शिक्षकलाई स्थायी गर्ने दाउ

शिक्षा ऐन संशोधन तयारी
- मकर श्रेष्ठ

काठमाडौं– शिक्षा ऐनमा भएको ‘खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने’ दरबन्दी हटाएर सरकारले अस्थायी शिक्षकलाई नै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउने तयारी थालेको छ । ‘भनसुन र भागबन्डा’ का आधारमा नियुक्त भएका अस्थायी शिक्षकलाई नै स्थायी गर्न सरकारले ऐन संशोधनको गृहकार्य गरेको हो । गत वर्ष असार १५ मा पारित शिक्षा ऐन आठौं संशोधन कार्यान्वयन गर्नुको सट्टा खुला प्रतिस्पर्धाबाट आउन चाहनेलाई ‘रोक्ने’ गरी नवौं संशोधन गर्न लागिएको हो ।
सरकारको यो कदमले सामुदायिक विद्यालयको गुणस्तर थप कमजोर हुने भन्दै विज्ञहरूले विरोध जनाएका छन् । ‘भनसुन र राजनीतिक भागबन्डाका आधारमा अस्थायी शिक्षकमा प्रवेश गराउनु अनि उसैलाई स्थायी गराउन खोज्नु गलत हो,’ त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डिन कृष्णप्रसाद गौतमले भने, ‘नयाँ र क्षमतावान्लाई प्रवेश निषेध र सिन्डिकेट गर्ने नियत हो यो, यसो गर्नु हँुदैन ।’ सरकारको यस्तो व्यवस्थाले विद्यालयको गुणस्तरमा असर पर्ने उनले बताए ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले शिक्षक सेवा आयोगले लिने परीक्षामा ४० नम्बर ल्याउन नसकेर अनुत्तीर्ण हुनेलाई पनि सुविधा दिने, ०६१ साउन २२ देखि ०६७ माघ ९ सम्म नियुक्ति पाएकालाई आन्तरिक प्रतिस्पर्धा गराउने र ०६७ माघ १० देखि ०७३ चैत १९ सम्म नियुक्त भएका दरबन्दीमध्ये ६० प्रतिशत आन्तरिकबाटै र ४० प्रतिशत मात्रै खुलाबाट प्रतिस्पर्धा गराउने निर्णय गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले ऐन संशोधनको तयारी भइरहेको टीट बिहीबार गरेका छन् । मन्त्रालयले ऐन संशोधन शुक्रबार दर्ता गर्दै छ । अस्थायी शिक्षकलाई सुविधा वा परीक्षा रोज्नुपर्ने यसअघिको प्रावधानलाई संशोधन गरेर परीक्षा र सुविधा दुवै रोज्न पाउने अवसर दिन लागिएको छ । सुविधा लिएर अवकाश लिन इच्छुकले पनि परीक्षामा प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गर्न खोजिएको छ । सुविधा लिएर अवकाश लिन चाहने करिब १० हजार छन् । यदि उनीहरूलाई बिदाइ गरिएको भए खुला प्रतिस्पर्धाबाट योग्य र क्षमतावान् शिक्षक नियुक्त गर्ने बाटो खुल्थ्यो । यसले शिक्षाको गुणस्तरमा सुधार हुने विज्ञहरूको भनाइ छ । ‘योग्यता र क्षमताभन्दा पनि राजनीतिक भागबन्डा र भनसुनमा अस्थायी शिक्षक बनेका धेरै व्यक्ति छन्,’ ती विज्ञले भने ।
यस्तै, २०६१ पछि नियुक्त भएका अस्थायी शिक्षकको दरबन्दीको ५१ प्रतिशत करिब ६ हजार र सुविधासहित अवकाश लिन चाहने १० हजार गरी करिब १६ हजार दरबन्दीमा आन्तरिक प्रतिस्पर्धाबाट अस्थायीलाई नै स्थायी गराउन ऐन संशोधन गर्न खोजिएको हो । यसअघि ०६१ साउन २१ सम्म नियुक्ति लिएकालाई मात्रै आन्तरिक प्रतिस्पर्धा गराउने र त्यसयता दरबन्दीमा ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्ने शिक्षा ऐनमा व्यवस्था छ । यसलाई संशोधन गरेर ०६७ माघ ९ सम्म नियुक्ति भएकालाई आन्तरिक प्रतिस्पर्धा गराउन लागिएको हो । यो अवधिसम्मका अस्थायी शिक्षक अब परीक्षामा ४० अंक ल्याउनेबित्तिकै स्वत: स्थायी हुन्छन् । त्यस्तै, संविधान जारी भएको अघिल्लो दिन ०७२ असोज २ सम्म नियुक्ति भएकालाई परीक्षा वा सुविधा रोज्न पाउने अवसर दिइएको थियो । सरकारले यो अवधि बढाएर ०७३ चैत १९ सम्म नियुक्ति पाएकाले पनि परीक्षा र सुविधाको अवसर दिने गरी ऐन संशोधन गर्न लागेको हो । ऐनमा एक वर्षभित्र अस्थायी शिक्षकलाई स्थायी गराउन विज्ञापन गर्नुपर्ने प्रावधानअनुसार शिक्षक सेवा आयोगले २६ हजार अस्थायी शिक्षकलाई स्थायी गराउन चैत १९ मा विज्ञापनसमेत गरिसकेको छ । आयोगले ०६१ पछिको ५१ प्रतिशत खुलालाई सुरक्षित गरेर १९ हजार ६ सय ९० दरबन्दीमा विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा १५ हजार ६ सय ९० ले परीक्षा दिन र करिब १० हजारले सुविधा लिएर बाहिरिन तयार छन् । सरकारले प्रस्ताव गरेको शिक्षा ऐन नवांै संशोधन पारित भएमा ०६१ पछिको ५१ प्रतिशत खुला प्रतिस्पर्धाबाट छानिने करिब साढे ६ हजार र प्रतिस्पर्धा छाडेर सुविधा लिई घर जान चाहने १० हजार दरबन्दीमा प्रतिस्पर्धा गराएर योग्य शिक्षक सामुदायिक विद्यालय पठाउन सकिन्थ्यो । यसले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सहयोग पुग्थ्यो । तर, ०६१ अघिको जस्तै एक व्यक्ति एक पदमा विज्ञापन गर्नुपर्ने, ४० नम्बर ल्याउन नसकेर अनुत्तीर्ण भएपछि सुविधा दिनुपर्ने, परीक्षा सहज हुनुपर्ने माग राखेर अस्थायी शिक्षकहरू अनशन बसिरहेका छन् । अस्थायी शिक्षकको दबाबकै आधारमा सरकारले सामुदायिकको गुणस्तर अझ कमजोर बनाउने गरी ऐन संशोधन गर्न लागेको हो ।
सरकारले गर्न खोजेको संशोधनले ‘शिक्षकलाई न्याय गरे पनि विद्यार्थीलाई अन्याय हुने’ शिक्षाविद् विद्यानाथ कोइरालाले बताए । ‘सबै अस्थायी काम लाग्दैनन् भन्ने होइन । जस्तोसुकै कडा परीक्षा लिए पनि उत्तीर्ण गर्ने पनि छन् । बल गरीगरी अस्थायीका रूपमा भित्र पसेका हुन्छन् । अब स्थायी हँ‘दा शिक्षकलाई न्याय हुन्छ । विद्यार्थीलाई अन्याय हुन्छ,’ उनले भने, ‘सरकारसँग बुद्धि छ भने स्थायी गरेर उनीहरूलाई प्रणालीले तिखार्न सक्यो भने ठीकै हुन्छ । स्थायी हुनेले पनि आफैंलाई सुधारेर बुद्धि बढाउनुपर्छ ।’ ऐन संशोधन हुने हो भने शैक्षिक योग्यता पूरा गरेर आयोगबाट लाइसेन्स लिएका, तालिमप्राप्त र प्रविधिमा पोख्त करिब चार लाख जना प्रतिस्पर्धा गर्नबाट समेत वञ्चित हुनेछन् । आयोगका अनुसार सात लाखले अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिएका छन् । शिक्षा विभागका अनुसार सामुदायिक र निजी विद्यालयमा १ देखि १२ कक्षासम्म ३ लाख १२ हजार ६ सय ८७ शिक्षक कार्यरत छन् । बाँकी चार लाख प्रतिस्पर्धा गर्न योग्य व्यक्ति लाइसेन्स लिएर बसेका छन् । यसअघि १३ हजारको विज्ञापनमा ४ लाखभन्दा बढीले आवेदन दिएका थिए । शिक्षाविद् मनप्रसाद वाग्लेले खुलालाई छुट्याइएको कोटामा आन्तरिकलाई प्रतिस्पर्धा गराउँदा लाइसेन्स लिएर प्रतिस्पर्धा गर्न तयारी अवस्थामा रहेका युवालाई अन्याय हुने बताए । ‘योग्यता पूरा गरेर तालिम लिएर बसेका व्यक्ति अब कहाँ जाने ?,’ उनले भने, ‘उनीहरूलाई विद्यालय प्रवेश गर्न कानुनले रोक्न खोजियो । म सक्षम छु भन्नेले प्रवेश नै नपाउने भयो ।’

  • ‘नयाँ र क्षमतावान्लाई प्रवेश निषेध र सिन्डिकेट गर्ने नियत हो यो, यसो गर्नु हँदैन’
  •  कृष्णप्रसाद गौतम, डिन, शिक्षा संकाय, त्रिवि
गृह पृष्ठ

चुनाव दुई चरणमा

आयोगको प्रस्ताव
- दुर्गा खनाल,राजेश मिश्र

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक हुने भएको छ । प्राविधिक रूपमा समस्या पर्ने भन्दै प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव छुट्टाछुट्टै गर्नुपर्ने अडान राख्दै आएको निर्वाचन आयोग एकैपटक गर्न बिहीबार सहमत भएको हो । निर्वाचन भने दुई चरणमा हुनुपर्ने उसको प्रस्ताव छ । आयोगले पहिलो चरणको चुनाव मंसिर ४ र दोस्रो चरणका लागि मंसिर २१ गतेको मिति प्रस्ताव गरेको छ । एकै चरणमा दुइटै चुनाव गर्ने धारणा राख्दै आएका प्रमुख तीन दलले समझदारी जुटाउन बिहीबार साँझ बालुवाटारमा आयोग पदाधिकारीसँग छलफल गरेका थिए । छलफलमा आयोग पदाधिकारीले दुई चरणमा गर्ने हो भने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक गर्न सकिने धारणा राखेका हुन् । ‘त्रिपक्षीय छलफलबाट निर्वाचनका लागि राम्रो वातावरण तयार भएको छ,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कान्तिपुरसँग भने । प्रमुख तीन दलले भने सकेसम्म एक चरणमै चुनाव गर्ने प्रयास गर्न आयोगलाई आग्रह गरेका छन् । ‘एकै चरणमा चुनाव होस् भन्ने दलहरूको भनाइ छ, यसमा कति सम्भव हुन्छ, आयोगले गृहकार्य गर्ने र त्यसपछि अन्तिम टुंगोमा पुग्ने भन्ने समझदारी भएको छ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने । दुई चरणमा गर्दा दोहोरो झन्झट हुने भएकाले सकेसम्म एकै चरणमा सक्नु राम्रो हुने सुझाव दलहरूको हो । आयोग पदाधिकारीले भने समय थोरै भएको र मतपत्र धेरै छाप्नुपर्ने भएकाले प्राविधिक रूपमा कठिनाइ पर्ने भन्दै दुई चरणमा गर्नुपर्ने बताएका छन् । बाँकी पृष्ठ १३
मंसिर ४ मा ३१ वटा हिमाली जिल्लामा चुनाव गर्नुपर्ने र बाँकी जिल्लामा २१ गते गर्ने आयोगको प्रस्ताव छ । हिमाली जिल्लामा छिट्टै हिउँ पर्ने भएकाले मंसिर पहिलो साताभित्रै चुनाव गर्नुपर्ने बाध्यता रहेको आयोगले बताएको थियो । ‘मतपत्र छपाइ गर्न कठिनाइ हुने कुरा आयोगले गरेको छ,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले भने, ‘त्यसैले दुई चरणमा गर्नुपर्ने उसको प्रस्ताव छ, तर हामी सकेसम्म एकै चरणमा होस् भनिरहेका छौं ।’ एक चरण कि दुई चरणमा गर्ने भन्ने विवादको तत्काल निरूपण गरी भदौ ३ भित्र निर्वाचन मिति औपचारिक रूपमा घोषणा गर्ने समझदारी दलहरू र आयोगबीच भएको छ । निर्वाचन मिति घोषणापछि चुनावको सुनिश्चितता हुने भएकाले यो काम तत्कालै गर्नुपर्छ भन्नेमा सबै पक्ष सहमत भएको नेम्बाङले जानकारी दिए ।आवश्यक प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनसम्बन्धी कानुनहरू भदौ ५ भित्र दिइसक्न पनि आयोगले माग गरेको छ । त्यस्तै निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन भदौ १५ भित्र प्राप्त भइसक्नुपर्ने आयोगको माग छ । क्षेत्र निर्धारणको काम अन्तिम चरणमा पुगेको छ । तर निर्वाचनसम्बन्धी विधेयकहरू संसदीय समितिमा विचाराधीन अवस्थामा छन् । ५ गतेभित्रै विधेयक पारित हुन भने समस्या छ । त्यसैले ती कानुन छिटो पारित गराउने गरी गृहकार्य गर्न तीन दलका प्रमुख सचेतक र कानुनी पृष्ठभूमिका एक/एक जना सांसद रहेको कार्यदल गठन भएको छ । ‘कार्यदलले ४ गतेभित्र विधेयकमा भएका विमति केलाई समझदारी कायम गर्न गृहकार्य गर्नेछ,’ नेम्बाङले भने, ‘त्यसपछि विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्नेछ ।’ निर्वाचनसम्बन्धी विधेयक यसअघि नै संसदीय समितिमा छलफलमा रहे पनि दलहरूले त्यसलाई पारित गराउनेतर्फ चासो दिएका थिएनन् ।
संविधानअनुसार माघ ७ भित्र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव सक्नुपर्ने बाध्यता छ । चरणबद्ध रूपमा चुनाव गर्दा माघ ७ को समयसीमा घर्किएर संवैधानिक संकट आउने अवस्था रहेकाले एकै चरणमा चुनाव गर्ने निष्कर्षमा दलहरू पुगेका हुन् । स्थानीय तहको तेस्रो चरणको चुनाव अझै बाँकी छ । त्यसैले प्रदेश र प्रतिनिधिसभाको छुट्टाछुट्टै गर्दा समय नपुग्ने अवस्था थियो ।

गृह पृष्ठ

२ मतपत्र, ४ छाप

दलहरू र आयोगबीच भएको समझदारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा दुइटा मात्र मतपत्र हुनेछन् । तर छाप भने चार ठाउँमा लगाउनुपर्नेछ । प्रत्यक्ष र समानुपातिकका छुट्टाछुट्टै गरी दुइटा मतपत्र हुनेछन् । प्रत्यक्षतर्फको मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष सिटका लागि मतदान गर्ने दुइटा कोलम हुनेछन् । त्यस्तै समानुपातिकतर्फको मतपत्रमा पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि मत हाल्ने दुइटा कोलम हुनेछन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली हुने व्यवस्था छ । दुवै निर्वाचन प्रणालीका लागि प्रतिनिधिसभा र प्रदेशसभाका छुट्टाछुट्टै मतपत्र बनाउने हो भने ४ वटा मतपत्र चाहिन्थ्यो । तर धेरै मतपत्र छाप्दा झन् बढी समय लाग्ने भएकाले प्रमुख दल र आयोगबीच दुइटा मतपत्रभित्र चार वटा छाप लगाउने गरी मतपत्रको डिजाइन गर्ने समझदारी भएको माओवादी नेता श्रेष्ठले जानकारी दिए । ‘प्रत्यक्ष र समानुपातिकका मतपत्र छुट्टाछुट्टै हुन्छन् तर एउटै मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि मत हाल्ने गरी मिलाइनेछ,’ श्रेष्ठले भने । यसअघि दलहरूबीच एउटै मतपत्रमा हालेको भोटका आधारमा प्रत्यक्ष र समानुपातिकको सिट विभाजन गर्ने गरी व्यवस्था मिलाउनुपर्ने विषयमा पनि बहस भएको थियो ।

 

गृह पृष्ठ

हात छुट्यो, साथ टुट्यो

- विनोद भण्डारी

विराटनगर– रमेश नेपाल गत शनिबार दाजु उमेशका साथ ठूलाबुबा चूडाराजको दसौं दिनको पुण्यतिथिमा सहभागी हुन सलकपुर पुगेका थिए । त्यहाँबाट फर्कंदा रात परिसकेको थियो । मोटरसाइकलमा सवार उनीहरू घिनाघाट आइपुग्दा बाढीले घेर्‍यो । पानी छातीसम्म आइपुगिसकेको थियो । अन्दाजमा गुडाउँदै गरेको मोटरसाइकल एक्कासि लडेर बग्न थाल्यो ।
‘हामी दाजुभाइ अँगालो मारेर तैरिने प्रयासमा लाग्यौं, एकअर्काको हात समातेर अगाडि बढ्यांै,’ कान्तिपुरकर्मी रमेशले भने, ‘पानी घाँटीसम्मै आइपुग्यो । हामीलाई बाढीले बगाउन थाल्यो । सय मिटरजति बग्दा पनि मैले दाजुको हात छोडेको थिइनँ । तर, एउटा बुट्टामा ठोक्किएर छुटिहाल्यो । त्यसपछि म एकातिर बग्न थालें, दाजु अर्कैतिर ।’
दाजु उमेश कता पुगे, उनलाई पत्तो भएन । निकै तल पुगेपछि रमेशले सेतो टिनजस्तो देखे । कुखुरा फर्म रहेछ । त्यसैको भाटो समाउन भ्याएकाले निकैबेर त्यहीँ अडिए । बिस्तारै फर्मको माथिल्लो भागमा उक्लिन प्रयास गरे । ‘बीचका चारपाँचवटा भाटा भाँचेर भित्र छिरें । त्यहाँ पनि डुब्ने गरी पानी जमेको रहेछ । बल्लतल्ल बलोमा झुन्डिन सकें । फर्मको दुलाबाट बाहिर चिहाउँदा दाजुलाई कतै देखिनँ । जताततै पानी मात्रै थियो,’ उनले सम्झिए । बलोमा झुन्डिएरै रात बित्यो ।
बल्लतल्ल उज्यालो भयो । रमेशले अलि पर केही मानिस देखे । उनी गुहार माग्दै चिच्याए तर कसैले सुनेन । ‘करिब ११ बजेतिर आफ्नै गाउँका मानिस हातेसाङ्लो
बाँधेर फर्मछेउ आएको देखें । छिमेकी अंकलको नामै लिएर निकैबेर कराएपछि बल्ल सुने,’ उनले भने, ‘मैले हात हल्लाएपछि आएर बचाए ।’ रमेश घर आइपुगे तर उमेशको अत्तोपत्तो थिएन । सोमबार मात्रै बगेको ठाउँभन्दा केही तल उनको शव फेला पर्‍यो । सँगै आइरहेका दाजुसँग सधैंलाई साथ छुटेको पत्यारै लाग्दैन रमेशलाई । तर, सत्य यही हो । उनी आफैं अहिले दाजुको किरिया बसिरहेका छन् । ‘हाम्रो हात बुट्टामा नठोकिएको भए दाजु र म सँगै कुखुराको फर्ममा पुग्थ्यौं होला । तर, त्यतिबेला सधैंका लागि हात छुटेको रहेछ,’ यसो भन्दै गर्दा रमेशको गला अवरुद्ध भयो ।त्यो दिन आफ्नो गाउँ बूढीगंगा–१ मा बाढी आउन लागेको खबर दाजुभाइले पहिल्यै पाइसकेका थिए । आमा र बहिनीले घर बग्न लाग्यो भन्दै फोन गरेका थिए । उनीहरू सकेसम्म छिटो घर पुग्न चाहन्थे । तर, बाटामा मोटरसाइकल बिग्रिएर अल्झिनुपर्‍यो । ‘नेताचोक आइपुग्दा मोटरसाइकल बिग्रियो, बनाउन झन्डै एक घण्टा लाग्यो । झोराहाटमा विराटनगरबाट गएका केही मानिस भेट्यौं । उनीहरूले सिंघिया पुलसम्म पुग्न सकिने बताए । सुरुमा घुँडाघुँडासम्म पानी थियो । जति अगाडि बढ्यो, उति बाढी बढदै गयो,’ रमेशले सम्झिए, ‘घाँटीसम्म आइपुगेपछि मोटरसाइकल
थेग्न सकेनौं ।’ रमेश र उमेश दुवै जना कान्तिपुर पब्लिकेसन क्षेत्रीय कार्यालय विराटनगरका वितरक हुन् । परिवार उमेशमै निर्भर थियो । उनी दुई भाइ, एक बहिनीका अभिभावक थिए भने आमाको भरोसा । पिता गोविन्दको ९ वर्षअघि नै निधन भएको थियो । ‘अभिभावक नै बितेपछि परिवारै बिचल्लीमा पर्‍यो,’ काका रेवतीले भने, ‘त्यस दिन उनीहरूलाई सलकपुरबाट फर्कनै दिएका थिएनौं । आमा र बहिनीले तारन्तार फोन गरेपछि उनीहरू हतारिएर हिँडेका थिए ।’ घर नजिकैको सिंघिया खोला बस्तीमा पसेर घर डुबाएको थियो । ‘त्यही पानी बग्दै घिनाघाट, मिलनचोकमा पुगेर उनीहरूलाई बगाएछ,’ काकाले सम्झिए, ‘उमेशसँग अन्तिमपटक सम्पर्क हुँदा मिलनचोक पुगेको बताएको थियो ।’ उनका अनुसार भोलिपल्ट बिहानसम्म पनि सम्पर्कमा नआएपछि गाउँका ५०–६० जना हातेसाङ्लो बाँधेर खोज्न हिँडेका थिए । कुखुराको फर्म नजिक पुगेपछि रमेशले चिच्याएको सुने । ‘रमेशलाई सुरक्षित स्थलमा पुर्‍याएपछि उमेशको खोजीमा लाग्यौं,’ रेवतीले भने, ‘फर्मभन्दा करिब दुई सय मिटर दक्षिणपश्चिममा उसको शव फेला पर्‍यो ।’ खोजी र उद्धारमा प्रहरीले सहयोग नगरेको उनले गुनासो गरे । बिहीबार रमेशको घर पुग्दा आँगनभिर छिमेकी भेला भएका थिए । आमा सुशीला, कान्छो भाइ जलेश र बहिनी तारा अर्धचेतझैं देखिन्थे । उमेशलाई गुमाउनुपर्दा सिंगो बस्ती शोकमग्न छ । ‘बस्तीकै इमानदार र सहयोगी युवा थिए,’ छिमेकी ज्ञानबहादुर तामाङले भने, ‘गाउँ नै शून्य बनाएर गए ।’

Page 2
समाचार

गृहमा छिटो–छिटो सरुवा

- कान्तिपुर संवाददाता

काठमाडौं– मन्त्री फेरिएसँगै कर्मचारीको छिटो–छिटो सरुवाको ‘रोग’ गृह मन्त्रालयमा सल्किएको छ । यसले गर्दा मन्त्रालयअन्तर्गतका निकायको नीतिगत निर्णय र दीर्घकालीन योजना कार्यान्वयन अलपत्र पर्ने गरेको छ । गृह मन्त्रालयले गरेको सरुवासम्बन्धी पछिल्ला निर्णय हेर्दा भन्न करै लाग्छ, कतिखेर के आधारमा कुन कर्मचारीको सरुवा हुने, कुनै टुंगो छैन ।
साउन अन्तिम साता गृहले १९ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ३१ जनाको सरुवा गर्‍यो । तीमध्ये धेरैको सरुवा भएको एक वर्ष पनि पुगेको थिएन । कतिसम्म भने काठमाडौंका प्रजिअ बालकृष्ण पन्थी तीन महिनामै सरुवामा परे । सोही मेसोमा ओखलढुंगाका प्रजिअ फणीन्द्र दाहाल ६ महिनामै सरुवा भए भने रसुवाका प्रजिअ चोलिन्द्र न्यौपाने आठ महिनामै
सरुवा भए । गृहका कर्मचारीको छिटो–छिटो सरुवा मात्रै भएको छैन, सेवा क्षेत्रको पनि परिवर्तन भएको छ । पूर्वगृहसचिव श्रीकान्त रेग्मी तारन्तार हुने सेवा क्षेत्रको परिवर्तनले गुणस्तरीय सेवा प्रवाह कमजोर बनाउने बताउँछन् । जस्तो कि, पछिल्लोपटक काठमाडौंका प्रजिअ पन्थी सरुवा भएर स्थानीय विकास मन्त्रालय पुगे भने मोरङ र झापाका प्रजिअ क्रमश: यज्ञराज कोइराला र उत्तर खत्री अर्थ मन्त्रालय । साउनकै अन्तिम साता गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारीमा रहेका दीपक काफ्लेलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गर्‍यो । काफ्ले तिनै कर्मचारी हुन्, जो करिब ६ महिनामै ललितपुर प्रजिअको जिम्मेवारीबाट सरुवा भएर गृह मन्त्रालय आएका थिए । मन्त्रालय आएको तीन महिनामै सरुवामा परेर उनी अध्यागमन विभाग महानिर्देशकको जिम्मेवारीमा पुगे । छिटो–छिटो सरुवाको चक्रमा अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलाल पनि परे । पाँच महिनाअघि अध्यागमन महानिर्देशकमा सरुवा भएर आएलगत्तै गेलालले अध्यागमन सुधारको मार्गचित्र नै तयार पारेर काम थालेका थिए । त्यही बेला साउन अन्तिम साता सरुवामा परेर अर्थ मन्त्रालय पुगे । गृह स्रोतका अनुसार माओवादीनिकट थुप्रै उपसचिवलाई गृहमन्त्री जनार्दन शर्माले गृहमा ल्याएका छन् । राजस्व अनुसन्धानको महानिर्देशक रहेका रामकृष्ण सुवेदी सात महिनापछि नै गृह मन्त्रालयको प्रवक्ताको हैसियतमा सरुवा भए । यसअघि काठमाडौंका प्रजिअ भएका सुवेदीले त्यहाँ पनि वर्ष दिनभन्दा लामो समय बिताएका थिएनन् । करिब एक वर्षअघि गृहको कार्य प्रशासन शाखाका सहसचिव चक्र बुढा सरुवा भएर माओवादी नेता मन्त्री भएको स्थानीय विकास मन्त्रालय पुगे । करिब पाँच महिनापछि उनी शिक्षा मन्त्रालय पुगे । शिक्षामा पनि लामो समय अडिन पाएनन् । ‘घुम्दै फिर्दै रुम्जाटार’ भनेझैं शर्मा गृहमन्त्री भएलगत्तै बुढा गृह मन्त्रालय तानिएका छन् । तर उनलाई गृहमा कुनै जिम्मेवारी भने दिइसकिएको छैन । पूर्वगृहसचिव रेग्मी प्रजिअ र अन्य कर्मचारीको तारन्तारको सरुवालाई निहित दलगत र व्यक्तिगत स्वार्थको उपज ठान्छन् । ‘ब्युरोक्रेसीलाई त्यसै स्थायी सरकार भनिएको होइन,’ रेग्मीले भने, ‘दलीय नेतृत्वको सरकार परिवर्तन भए पनि ब्युरोक्रेसी स्थायी हुने भएकाले यस्तो भनिएको हो । तर प्रत्येक मन्त्रीले पर्याप्त तर्क र कारणबिना आफूखुसी कर्मचारीको सरुवा गरिरहेका छन् ।’ रेग्मीको बुझाइमा छिटो–छिटो कर्मचारी सरुवाले जोखिम मोल्ने कर्मचारीको मनोबललाई मात्रै कमजोर बनाउँदैन, नीतिगत र दीर्घकालीन निर्णय नगर्ने प्रवृत्ति मौलाउँछ ।
प्रशासनविद् भीमदेव भट्ट छिटो सरुवाले कर्मचारी संयन्त्रलाई झनै कमजोर बनाएको बताउँछन् । भट्टको बुझाइमा संवेदनशील मानिने गृह मन्त्रालयमा हुने निरन्तरको सरुवाको असर झनै ठूलो हुन्छ । उनले भने, ‘एस म्यानहरूको खोजी गर्ने चलनले विधि र प्रणालीलाई कमजोर बनायो ।’ तत्कालिन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सेवाअनुकूलको क्षेत्रमा मात्रै सरुवा हुने थिति बसाउन खोजेका थिए ।

समाचार

रित्तै छन् राहत केन्द्र

- जनकराज सापकोटा

स्थान : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विश्व खाद्य कार्यक्रमको गोदाम
खटिएका कर्मचारी : एक उपसचिव, एक प्रहरी, एक सशस्त्र प्रहरी, एक नेपाली सेनाका जवान

वातावरण : सुनसान
अत्यधिक वर्षापछि उत्पन्न बाढी, डुबान र पहिरोलगायतका प्राकृतिक प्रकोपलगत्तै गृहमन्त्री जनार्दन शर्माले ३० साउनमा राहत संकलन तथा संयोजन समितिको निर्माण गरे । गृहमन्त्रीकै आदेशमा सोही दिन काठमाडौंका दुई ठाउँमा राहतस्वरूप जिन्सी संकलन केन्द्र खोलियो । विमानस्थलस्थित गोदाममा खटिएका कर्मचारीहरू सोही दिनदेखि राहत संकलन गर्न खटिए । तर तीन दिन नबित्दै संकलन केन्द्रमा खटिएका कर्मचारी दिक्क भइसके । यो अवधिमा एक जनाले मात्रै राहतस्वरूप जिन्सी जम्मा गरे । त्यो पनि एक मनकारीले दिएको पचास वटा टिसर्ट । यस्तै अवस्था छ, थापाथलीस्थित खाद्य संस्थानको सदर धान गोदाममा रहेको अर्को संकलन केन्द्रको पनि । यहाँ आपूर्ति मन्त्रालयका उपसचिव समन्तमणि आचार्यसहित गृहका दुई कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरू खटिएका छन् । संकलन केन्द्र खुलेको दुई दिनसम्म यहाँ कुनै राहत संकलन भएन । तेस्रो दिन नेपाल चेम्बर अफ कमर्शले ४० टन चामल, प्रतिकार्टुन २५ बोतल भएको ५० कार्टुन स्लाइन, नेपाल उद्योग परिसंघले १६ सय कार्टुन ड्राई फुड र २० हजार पीयूष चक्की जम्मा गर्‍यो । स–साना संस्थादेखि अनौपचारिक समूहहरूले ठूलो परिमाणमा राहत संकलन गरिरहेका बेला सरकारले खोलेका राहत संकलन केन्द्रको अवस्था भने नाजुक छ । विमानस्थलस्थित गोदाममा खटिएका गृहका उपसचिव फणीन्द्रमणि पोख्रेलले भने,‘धेरैले थाहा नपाएर राहत संकलन हुन नसकेको हो कि ? तीन दिनदेखि रुँगेर मात्रै बसिरहेका छौं ।’गृह मन्त्रालयले दुवै संकलन केन्द्रमा खटिएका प्रतिनिधिहरूलाई राहतमा के–के लिने र के–के नलिने भन्ने सूची नै थमाएको छ । थापाथली केन्द्रमा खटिएका आपूर्ति मन्त्रालयका कर्मचारीले खाद्यान्नमा दाल, चामल, नुन, तेल, ड्राई फुडका अलावा भाँडाकुँडा, त्रिपाल र नयाँ लुगा मात्र संकलन गरिने बताए । गृहले राहत संकलनका निम्ति गरेको पछिल्लो प्रयास व्यर्थैको देखिएको छ । धेरैले सरकारले राहत संकलनका निम्ति कहाँ कहाँ केन्द्र खोलेको छ भन्ने पनि पत्तो पाएका छैनन् । न त्यसबारे जानकारी दिने कुनै सरकारी संयन्त्र नै छ । गृह मन्त्रालयको राहत संकलन तथा संयोजन समितिका संयोजक सहसचिव केदार न्यौपानेले काठमाडौंका संकलन केन्द्रमा आफूहरूले धेरै राहत जम्मा गर्न नखोजेको बताए । उनले वीरगन्ज, जनकपुर, लहान र विराटनगरमा पनि संकलनकेन्द्र राखिएको बताए । ‘काठमाडौंमा संकलन गरेर तराई लैजानभन्दा उतै संकलन गरेर प्रभावित क्षेत्रमा पुर्‍याउन सजिलो हुन्छ,’ उनले भने । त्यसो त गृह मन्त्रालयले अघिल्लो मनसुनका बेला उत्पन्न हुन सक्ने विपत्तिलाई ध्यानमा राखेर बाँड्नका निम्ति भन्दै जम्मा गरिएको राहतको प्याकेट यसपालि बाँडिएको बताएको छ । न्यौपानेले भने, ‘पोहोरकै स्टक बाँड्न थालेका छौं । अहिले जम्मा भएको जिन्सी सबै यसैपाला नबाँड्न पनि सकिन्छ । स्टक पनि हुन सक्छ ।’ बिहीबार नै गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी दाता र सामाजिक संघसंस्थालाई सहायता दिन रोक नलगाइएको भन्दै आवश्यक सहयोगका निम्ति अपिल गरेको छ । विज्ञप्तिमा आवश्यकताअनुसार राहत सामग्री समानुपातिक वितरण गर्न गृह मन्त्रालयले समन्वयको भूमिका मात्रै निर्वाह गर्न खोजेको जनाइएको छ ।

समाचार

रित्तै छन् राहत केन्द्र

- जनकराज सापकोटा

स्थान : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विश्व खाद्य कार्यक्रमको गोदाम
खटिएका कर्मचारी : एक उपसचिव, एक प्रहरी, एक सशस्त्र प्रहरी, एक नेपाली सेनाका जवान

वातावरण : सुनसान
अत्यधिक वर्षापछि उत्पन्न बाढी, डुबान र पहिरोलगायतका प्राकृतिक प्रकोपलगत्तै गृहमन्त्री जनार्दन शर्माले ३० साउनमा राहत संकलन तथा संयोजन समितिको निर्माण गरे । गृहमन्त्रीकै आदेशमा सोही दिन काठमाडौंका दुई ठाउँमा राहतस्वरूप जिन्सी संकलन केन्द्र खोलियो । विमानस्थलस्थित गोदाममा खटिएका कर्मचारीहरू सोही दिनदेखि राहत संकलन गर्न खटिए । तर तीन दिन नबित्दै संकलन केन्द्रमा खटिएका कर्मचारी दिक्क भइसके । यो अवधिमा एक जनाले मात्रै राहतस्वरूप जिन्सी जम्मा गरे । त्यो पनि एक मनकारीले दिएको पचास वटा टिसर्ट । यस्तै अवस्था छ, थापाथलीस्थित खाद्य संस्थानको सदर धान गोदाममा रहेको अर्को संकलन केन्द्रको पनि । यहाँ आपूर्ति मन्त्रालयका उपसचिव समन्तमणि आचार्यसहित गृहका दुई कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरू खटिएका छन् । संकलन केन्द्र खुलेको दुई दिनसम्म यहाँ कुनै राहत संकलन भएन । तेस्रो दिन नेपाल चेम्बर अफ कमर्शले ४० टन चामल, प्रतिकार्टुन २५ बोतल भएको ५० कार्टुन स्लाइन, नेपाल उद्योग परिसंघले १६ सय कार्टुन ड्राई फुड र २० हजार पीयूष चक्की जम्मा गर्‍यो । स–साना संस्थादेखि अनौपचारिक समूहहरूले ठूलो परिमाणमा राहत संकलन गरिरहेका बेला सरकारले खोलेका राहत संकलन केन्द्रको अवस्था भने नाजुक छ । विमानस्थलस्थित गोदाममा खटिएका गृहका उपसचिव फणीन्द्रमणि पोख्रेलले भने,‘धेरैले थाहा नपाएर राहत संकलन हुन नसकेको हो कि ? तीन दिनदेखि रुँगेर मात्रै बसिरहेका छौं ।’गृह मन्त्रालयले दुवै संकलन केन्द्रमा खटिएका प्रतिनिधिहरूलाई राहतमा के–के लिने र के–के नलिने भन्ने सूची नै थमाएको छ । थापाथली केन्द्रमा खटिएका आपूर्ति मन्त्रालयका कर्मचारीले खाद्यान्नमा दाल, चामल, नुन, तेल, ड्राई फुडका अलावा भाँडाकुँडा, त्रिपाल र नयाँ लुगा मात्र संकलन गरिने बताए । गृहले राहत संकलनका निम्ति गरेको पछिल्लो प्रयास व्यर्थैको देखिएको छ । धेरैले सरकारले राहत संकलनका निम्ति कहाँ कहाँ केन्द्र खोलेको छ भन्ने पनि पत्तो पाएका छैनन् । न त्यसबारे जानकारी दिने कुनै सरकारी संयन्त्र नै छ । गृह मन्त्रालयको राहत संकलन तथा संयोजन समितिका संयोजक सहसचिव केदार न्यौपानेले काठमाडौंका संकलन केन्द्रमा आफूहरूले धेरै राहत जम्मा गर्न नखोजेको बताए । उनले वीरगन्ज, जनकपुर, लहान र विराटनगरमा पनि संकलनकेन्द्र राखिएको बताए । ‘काठमाडौंमा संकलन गरेर तराई लैजानभन्दा उतै संकलन गरेर प्रभावित क्षेत्रमा पुर्‍याउन सजिलो हुन्छ,’ उनले भने । त्यसो त गृह मन्त्रालयले अघिल्लो मनसुनका बेला उत्पन्न हुन सक्ने विपत्तिलाई ध्यानमा राखेर बाँड्नका निम्ति भन्दै जम्मा गरिएको राहतको प्याकेट यसपालि बाँडिएको बताएको छ । न्यौपानेले भने, ‘पोहोरकै स्टक बाँड्न थालेका छौं । अहिले जम्मा भएको जिन्सी सबै यसैपाला नबाँड्न पनि सकिन्छ । स्टक पनि हुन सक्छ ।’ बिहीबार नै गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी दाता र सामाजिक संघसंस्थालाई सहायता दिन रोक नलगाइएको भन्दै आवश्यक सहयोगका निम्ति अपिल गरेको छ । विज्ञप्तिमा आवश्यकताअनुसार राहत सामग्री समानुपातिक वितरण गर्न गृह मन्त्रालयले समन्वयको भूमिका मात्रै निर्वाह गर्न खोजेको जनाइएको छ ।

समाचार

एक अर्ब निकास

बाढीपहिरो र क्षति व्यवस्थापन

काठमाडौं (कास)– प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषले बाढीपहिरो पीडित र क्षति व्यवस्थापनका लागि खर्च गर्न गृह मन्त्रालयलाई एक अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । कोषमा रहेको २ खर्ब १७ अर्ब रुपैयाँमध्येबाट तत्कालका लागि एक अर्ब रुपैयाँ निकासा दिने निर्णय भएको कोष सञ्चालन समितिका अध्यक्ष तथा योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले बताए । ‘गृहले पैसाभन्दा पनि बाढी प्रभावित क्षेत्रमा अन्य व्यवस्थापन खाँचो रहेको जनाएको छ,’ उनले भने, ‘तर पनि अब आवश्यक परेमा उक्त रकमबाट खर्च गर्न पाइनेछ ।’तत्काल ५० करोड रुपैयाँ निकासा गर्ने र बाँकी रकम आवश्यकताअनुसार गृहको कोषमा निकासा दिने उनले बताए । ‘अब एक अर्ब रुपैयाँसम्म खर्च गर्न कोष सञ्चालक समितिको बैठक बसिरहनु नपर्ने भएको छ,’ उनले भने । मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत रकम दिने निर्णय सरकारले गरिसकेको छ । गृहको तथ्यांकअनुसार बुधबार रातिसम्म १ सय २८ जनाको मृत्यु भएको छ । ती मृतकका परिवारलाई दुई लाखका दरले भुक्तानी गर्दा २ करोड ५६ लाख रुपैयाँ लाग्नेछ । घाइते, बेपत्ता र घरको क्षति भएका परिवारका लागि कति रकम दिने भन्ने निर्णय भइसकेको छैन । आवश्यकताअनुसार कोषको रकम उक्त शीर्षकमा समेत खर्च हुनेछ । भूकम्पका बेला सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्रलगायतले जम्मा गरेर बाँकी रहेको रकम, पछिल्लो समय सरकारले निकासा दिएको दुई खर्ब १७ अर्ब रुपैयाँमध्ये उक्त रकम निकासा दिने निर्णय भएको हो । ‘बाढीपहिरोबाट प्रभावितलाई तत्काल उद्धार, राहत र क्षतिपूर्तिलगायतमा खर्च गर्ने प्रयोजनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रहेको मौज्दात रकमबाट एक अर्ब रुपैयाँसम्म गृह मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय दैवीप्रकोप उद्धार कोषमा निकासा गर्ने,’ बैठकपछि जारी विज्ञप्तिमा छ, ‘कोषका नाममा विभिन्न वाणिज्य बैंकमा रहेको रकममध्ये ५० लाखभन्दा कम मौज्दात भएमा बैंकको रकम अन्य खातामा सारी यस्ता खाता बन्द गर्ने ।’ कोषमा रकम जम्मा गर्न विभिन्न बैंकमा १४ वटा खाता खोलिएका छन् ।

समाचार

आचारसंहिता उल्लंघन नहोस् : आयोग

काठमाडौं (कास)– निर्वाचन आयोगले बाढीपीडितलाई वितरण गरिने राहतमा निर्वाचन आचारसंहिता उल्लंघन नगर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचन लक्षित आचारसंहिता भदौ १ गतेबाट लागू भइसकेको छ । आयोग बैठकले राहत वितरणमा आचारसंहिता पालना गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन सम्बन्धित प्रजिअलाई निर्देशन दिएको हो । राहत वितरण कार्यका नाममा आगामी स्थानीय तहको तेस्रो चरणको निर्वाचनको स्वच्छता तथा निष्पक्षतामा कुनै किसिमबाट प्रतिकूल प्रभाव नपरोस् भन्ने विषयमा निर्वाचन आयोग सचेत रहेको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । आयोगले आचारसंहिता उल्लंघन हुन नदिन राहत वितरण गर्ने दल र संघसंस्थाले सामग्री जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिलाई उपलब्ध गराउने र समितिले वितरणको व्यवस्था मिलाउने उल्लेख गरेको छ ।

 

Page 3
समाचार

नहरको बाँध फुटाउने प्रयास

सुस्ता डुबान
- नवीन पौडेल

नवलपरासीको सुस्ता–१ मा रहेको गण्डक पश्चिम नहरको बाँध फुटाउने प्रयास गर्दै स्थानीय । तस्बिर सौजन्य : श्याम थापा

 

नवलपरासी– पश्चिम गण्डक नहरको पानीले बस्ती र खेती डुबानमा परेपछि सुस्ताका बासिन्दा आक्रोशित बनेका छन् । उनीहरूले बिहीबार भारतको मुख्य पश्चिम नहर फुटाउने प्रयास गरे । लगातारको वर्षाले सुस्ता गाउँपालिकाका १ र २ वडा डुबानमा परेका छन् । बाँधका कारण निकास नपाउँदा डुबान भएको भन्दै ताल बनेको पानी फुटाएर निकाल्ने प्रयास गरेका थिए । गाउँलेलाई नेपाली सुरक्षाकर्मीले रोकेका थिए ।नारायणीमा आएको बाढीले नहरमा पानीको बहाव बढेपछि सुस्ता १ को बरुवा, छिबनी, फेचुहा र रुपौलिया र वडा नम्बर २ अन्तर्गत सत्तपति र महलबारी डुबानमा परेका छन् । करिब १ हजार बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको धान र उखु नष्ट भएको स्थानीय ज्ञानु न्यौपानेले बताए । बर्सेनि डुबान र जमिन कटान गरेको गुनासो नेपाली र भारतीय प्रशासनलाई समेत पटक–पटक जानकारी गराउँदा बेवास्ता गरेकाले बाध्य भएर फुटाउन लागेको स्थानीयले बताए । वर्षायाममा पानीको बहाव बढी हुने र बस्तीमा जम्मा भएको पानीले निकास नपाउने भएकाले साइफन निर्माण गरिदिन आग्रह गरे पनि बेवास्ता गरेको स्थानीयले गुनासो गरे । बाँध फुटाउन करिब डेढ सय स्थानीय कुटो, कोदालो र गैंती लिएर पुगेपछि प्रशासनले रोकेको थियो । बर्सेनि डुबानमा पर्ने र त्यसबापत पाउनुपर्ने क्षतिपूर्ति नपाउँदा स्थानीय आक्रोशित भएर बाँध फुटाउन गएका थिए । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले नेपाली भूमिमा पर्ने भारतीय गण्डक नहर फुटाउने प्रयास गरेको जनाए । तत्काल सुरक्षाकर्मी लगाएर रोकिएको उनले बताए । ‘गण्डक सम्झौताअनुसार वर्षौं पहिले निर्माण गरिएको भारतीय नहर नेपाली भूमिमा पर्छ, सो नहर फुटेमा पानीको बहाव बढेपछि सुस्तामा असर पुग्छ,’ उनले भने, ‘समस्याबारे गृह मन्त्रालय र भारतीय पक्षलाई समेत जानकारी गराएर स्थानीयसँग समस्या समाधानका लागि पहल गरिएको छ ।’ नहर फुटेमा तत्काल बस्ती र खेतको पानी नहरमा गए पनि नारायणीमा बाढी आउँदा सोही नहर बस्तीमा पर्ने खतरा रहेको छ । गण्डक क्षेत्रमा बर्सेनि नारायणी नदी र नहरका कारण सयौं घर डुबानमा पर्छन् ।

Page 4
उपत्यका

राजधानीमा ट्राफिक लाइटको बेहाल

- दीपेन्द्र विष्ट

काठमाडौं– प्रहरी जवान गोविन्दसिंह ऐर नारायणहिटी संग्रहालयको दक्षिण गेटको आइल्यान्डमा उभिएर हात र सिट्टीका भरमा सवारी साधनलाई ‘रोक र अगाडि जाऊ’ भन्ने संकेत दिइराखेका हुन्छन् । दैनिक ४/५ घण्टा हात र सिट्टीकै भरमा उनले सवारी साधनको व्यवस्थापन गर्छन् । साउनको झरी होस् वा वैशाख–जेठको प्रचण्ड गर्मी, आइल्यान्डबाटै सवारी साधनलाई अघि बढ्ने संकेत दिन्छन् । ‘ट्राफिक बत्ती नहुँदा निकै समस्या भएको छ,’ उनले भने, ‘बत्ती नहुँदा पैदलयात्रीलाई समेत नियन्त्रण गर्न गाह्रो छ ।’ प्रहरी हवल्दार आशिष क्षत्रीको दैनिकी पनि उस्तै छ । सवारीसाधन र पैदलयात्रीको अत्यधिक चाप हुने कोटेश्वर र नयाँ बानेश्वरको आइल्यान्डमा उनी पनि हात र सिट्टीकै भरमा गाडीको व्यवस्थापन गर्छन् । ‘धूलो, धूवाँले कति असर गर्छ भन्ने छोडौं । शरीर पनि मेसिनजस्तै भइसक्यो, ट्राफिक बत्ती भइदिएको भए सवारी साधन र पैदलयात्रीलाई कन्ट्रोल गर्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘पैदलयात्री ह्वातै आउँछन्, गाडी नियन्त्रण गर्ने कि पैदलयात्री ? गाह्रो छ, पैदलयात्री दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ ।’ आइल्यान्डमा उभिएको समयसमेत जोड्दा प्रत्येक ट्राफिक प्रहरीले दैनिक १४/१५ घण्टा ड्युटीमा खटिनुपर्छ ।
ओभर ब्रिज भइदिएको भए पैदलयात्रीलाई नियन्त्रण गर्न सजिलो हुने उनले बताए । त्यो पनि नहुँदा निकै सास्ती भएको उनी बताउँछन् । २० वर्षअघि जापान सरकारले निर्माण गरेका उपत्यकाका १० स्थानका ट्राफिक बत्ती ७ वर्षदेखि बल्दैनन् । सबै जीर्ण अवस्थामा छन् । जापान सरकारको सहयोगमा निर्मित तीनकुने–सूर्यविनायक सडक खण्डका ६ वटा ट्राफिक बत्तीमात्र बल्छन् । तर, काठमाडौं महानरपालिकाभित्र कुनै पनि ट्राफिक बत्ती बल्दैनन् । दरबारमार्गका ट्राफिक प्रहरी इन्स्पेक्टर सुनीलजंग शाहले ट्राफिक बत्तीबिनाको राजधानी भएको बताए । ‘प्रविधिले फड्को मारिसक्यो, हामी आइल्यान्डमा उभिएर हात हल्याउँदै बसिराखेका छौं,’ उनले भने, ‘बाटो काट भन्दा सिट्ठी, गाडी रोक भन्दा सिट्ठी, अगाडि बढ र रोक भन्दा हात हल्लाउने यसरी कति दिन चल्छ ?’ महानगरीय ट्राफिक महाशाखाका डीआईजी एवं प्रमुख सर्वेन्द्र खनालले ट्राफिक बत्ती नहुँदा ट्राफिकलाई निकै सास्ती भएको बताए । ‘ट्राफिक बत्ती छैनन्, भएका जीर्ण छन् जिम्मेवार निकायको त्यसप्रति ध्यान नै छैन, जेब्रा क्रसिङसमेत छैन, वर्षात्मा जेब्रा क्रसिङ संकेतसम्म देखिँदैन,’ उनले भने, ‘जेब्रा क्रसिङमै पैदलयात्रीको मृत्यु हुने सम्भावना बढी छ ।’ महानगरीय ट्राफिक महाशाखाअनुसार सवारी दुर्घटनाको तथ्यांक केलाउँदा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४३ प्रतिशत पैदल यात्रु रहेको देखिएको छ । उपत्यकमा करिब १२ सय ट्राफिक प्रहरी परिचालित छन् । उपत्यका सवारी चापलाई हेर्दा र प्राविधिकबिनाको सवारी नियन्त्रण गर्ने हो भने यो जनशक्ति निकै कम भएको डीआईजी खनालले बताए । सार्वजनिक यातायातमा लामो अध्ययन अनुसन्धान गरेका पुल्चोक इन्जिनियरिङका अतिथि प्राध्यापक सूर्यराज आचार्य उपत्यकाको यातायात पूर्वाधार नै कमजोर भएको बताए । ‘पूर्वाधार पैदलमैत्री नै छैन,’ उनले भने, ‘ट्राफिक बत्ती खै ? ट्राफिकले हात हल्लाएको भरमा कति दिन चल्छ ?’आइल्यान्ड र जेब्रा क्रसिङ निर्माण, ट्राफिक बत्ती जडान तथा मर्मतको जिम्मा लिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी हो । तर, १ वर्षदेखि उपत्यकाका ३५ स्थानमा ३७ वटा ट्राफिक बत्ती जडानका लागि छुट्याएको बजेट खर्च गर्न सकेको छैन । मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका दिगो सहरी यातायात परियोजनाले टेन्डर प्रक्रिया अघि बढाए पनि काम अघि बढ्न सकेको छैन । ‘बजेट कम छ, प्रविधि बढी गुणस्तरको छ, विदेशी ठेकेदारले टेन्डर हाल्दैनन्, हाम्रा ठेकेदारले निर्माण गर्न सक्ने अवस्था छैन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यही गतिमा हो भने बत्ती जडान गर्न गाह्रो छ ।’ ती अधिकारीका अनुसार छनोट गरिएका चोकमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक र आकर्षक ट्राफिक बत्ती जडान गर्ने यातायात मन्त्रालयको योजना भए पनि टेन्डर नभएका कारण कहिले जोडिने हो, टुंगो छैन । पहिला जडान गरिएका ट्राफिक लाइटको मर्मतसम्भार तथा प्रयोग नहुँदा बिग्रेपछि मन्त्रालयले नयाँ लाइट जडान गर्न खोजेको हो । माइतीघर, तीनकुने, जय नेपाल हल, थापाथली चोक, जाउलाखेल चोकलगायत सवारीको अत्यधिक चाप हुने चोकमा ट्राफिक लाइट जडान गर्ने मन्त्रालयको योजना छ । यस्तै, नारायणगोपाल चोक, त्रिपुरेश्वर, दरबारमार्ग, भद्रकाली, कमलपोखरी, जमल, लौनचौर, महराजगन्जलगायत क्षेत्रमा पनि जडान गर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । एसियाली विकास बैंक (एडीबी) को आर्थिक तथा प्राविधिक सहयोगमा उपत्यकाको सवारी व्यवस्थापन गर्न मन्त्रालयले ट्राफिक बत्ती जडान गर्ने बताएको छ ।

उपत्यका

सडक विस्तारमा स्थानीय अवरोध

- लीला श्रेष्ठ

भक्तपुर– काठमाडौं–भक्तपुर जोड्ने बोडे मूलपानी सडक खण्डअन्तर्गत नीलबाराही चेकपोस्टमा गत वर्ष निर्माणाधीन ‘रिटेनिङ वाल’ भत्कियो । भत्किएको रिटेनिङ वालले स्थानीय बासिन्दा लगायतको तरकारी, अन्नबाली नष्ट भयो ।
बोडे मूलपानी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी ‘सन्तोषी पीआर जेभी ललितपुर’ ले स्थानीय कृषकलाई नष्ट भएको तरकारी, अन्नबालीको क्षतिपूर्ति स्वरूप ६ लाख रुपैयाँ दियो । तर, स्थानीय कृषकले भने ३७ लाख माग गरेर सडक निर्माण कार्यमा अवरोध गरेको डिभिजन सडक कार्यालय भक्तपुर प्रमुख इन्जिनियर गुरुप्रसाद अधिकारीले बताए । ‘बिमाले पनि रिटेनिङ वाल भत्किएर क्षति गरेको तरकारी तथा अन्नबालीको ६ लाख रुपैयाँ मूल्य तोकेको छ,’ उनले भने ।
आर्थिक वर्ष ०७२/७३ मा थालिएको बाहाखाबजार, पुरानोबाटो हुलाक रोडबाट नगरपालिका भवन हुँदै मिलरोड र मिलरोडबाट मनोहरासम्म जोड्ने सडक २ दशमलव ८ किलोमिटर सडकको मापदण्डभित्र परेका घरटहरा, बिजुली, टेलिफोनको पोलले सडक विस्तारमा ढिलाइ भएको छ । सडक कार्यालयका अनुसार ७ मिटर कालोपत्रे, फुटपाथसहितको उक्त सडकको मापदण्डभित्र ३८ घरटहरा, ३५ बिजुलीको पोल, ३२ टेलिफोनको पोल, २ मन्दिर/ढुंगेधारा, २ वटा कम्पाउन्ड वाल परेकाले निर्माणमा समस्या परेको जनाएको छ । ब्यासी–झौखेल–मानदेव सडक खण्डअन्तर्गतको २ किमि सडक विस्तारको अवस्था पनि उस्तै छ । सडक कार्यालयले दिवा निर्माण सेवासँग २०७२ कात्तिक २४ मा सम्झौता गरी निर्माण थालिएको हो । निर्माण अवधि तीन महिना मात्र बाँकी छ तर ५० प्रतिशत काम सम्पन्न भएको दिवा निर्माण सेवाका रमेश बस्नेतले बताए । स्थानीयको अवरोध, बिजुली, टेलिफोनको पोलजस्ता संरचनाले सडक विस्तारमा अवरुद्ध गरेको उनले बताए । उक्त सडकको मापदण्डभित्र २७ वटा घरटहरा, ४६ वटा बिजुलीको पोल, ३२ टेलिफोनको पोल परेको जनाएको छ । डिभिजन सडक कार्यालयले सडक विस्तारको जिम्मा लिएको र सडकको मापदण्डभित्रको संरचना व्यवस्थापन गर्ने कार्य नगरपालिका, नगर विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयले गर्नुपर्ने इन्जिनियर अधिकारी बताउँछन् । यता नगर विकासले भने पोल हटाउन प्राधिकरण, टेलिकमसँग समन्वय भइरहेको र सडकको मापदण्डभित्र परेका घरटहराको मुआब्जा वितरण भइरहँदा पनि स्थानीयले चासो नदिएको जनाएको छ । ‘मुआब्जाका लागि पटकपटक सूचना जारी गरेको छ,’ नगर विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुर प्रमुख नवराज प्याकुरेलले भने, ‘मुआब्जाका लागि केहीको निवेदन परेको भए पनि अधिकांशले मुआब्जाप्रति बेवास्ता गरी संरचना हटाउन अटेर गरिरहेको छ ।’ त्यसैगरी, अरनिको राजमार्ग–पुरानोठिमी सडक खण्डअन्तर्गत चारदोबाटो विष्णुकुण्डल सिद्धिकाली चोक हुँदै पुरानोथिमि जोड्ने
१ दशमलव १५ किलोमिटर सडकको अवस्था पनि उस्तै छ । सूर्यविनायक नगरपालिकाको बालकोटलाई भीआईपी क्षेत्रका रूपमा लिने गरेको पाइन्छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च ओहोदाका व्यक्ति बालकोटमै बसोबास गर्छन् । तर, सडकको अवस्था हेर्ने हो भने भीआईपी क्षेत्रकै खिल्ली उडाउने किसिमको छ । दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने ठिमी चारदोबाटो बालकोट सडक हालसम्म जस्ताको तस्तै छ । स्थानीयको अवरोधकै कारण करिब ७ सय मिटर सडक विस्तार हुन सकेको छैन । सडकको मापदण्डभित्र पर्ने संरचना व्यवस्थापनको विवादका कारण सडक विस्तारमा ढिलाइ भएको स्थानीय बताउँछन् । ‘सडक विस्तार (फराकिलो) नहुँदा सधंै जाम हुने गरेको छ,’ स्थानीय विष्णुराज कार्कीले भने, ‘एक पक्ष सडक बन्नुपर्छ भन्ने र अर्को अवरोध गर्ने भएकाले पनि विस्तारमा समस्या परेको छ ।’

उपत्यका

वन कर्मचारीका परिवारलाई ३० लाख

काठमाडौं (कास)– ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीको परिवारलाई वन विभागले करिब ३० लाख रुपैयाँ सहयोग गरेको छ । विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले बिहीबार काठमाडौंमा शाहीकी पत्नी पवित्रा शाहीलाई २९ लाख ७० हजारको चेक हस्तान्तरण गरेका हुन् । जाजरकोटको छेडागाउँ नगरपालिका ५ का शाहीको २०७३ को पुस १७ मा सामुदायिक वनको सिमाना सर्भे गर्दैगर्दा स्थानीय टेकबहादुर लिम्बूबाट हत्या भएको थियो । शाही वन कार्यालय ताप्लेजुङमा कार्यरत थिए । शाहीका नाबालक दुई छोरा र एक छोरीको पठनपाठनलाई सहयोग पुगोस् भनेर वन विभागले सहयोग जुटाएको महानिर्देशक आचार्यले बताए । यसअघि जिल्ला वन कार्यालय, ताप्लेजुङले १ लाख ११ र वन कार्यालय जाजरकोटले करिब ३ लाख रुपैयाँ उपलब्ध गराएका थिए । शाहीको हत्या गर्ने लिम्बूलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । जिल्ला वन कार्यालयहरूका कर्मचारीबाट रकम संकलन गरेर विभागले शाही परिवारलाई सहयोग गरेको हो । पुष्पकमल दाहाल नेतृत्वको सरकारले शाहीलाई ‘संरक्षण सहिद’ घोषणा गर्दै १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । उक्त रकम शाहीको परिवारले प्राप्त गरिसकेको छ । हत्या भएको दोस्रो दिन नै तत्कालीन वनमन्त्री शंकर भण्डारीले परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्दै वन कार्यालयमा जागिर दिलाउन वन विभागको ध्यानाकर्षण गराएका थिए ।

उपत्यका

सेनाको स्वास्थ्य शिविर सुरु

काठमाडौं (कास)– नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित नागरिकको स्वास्थ्य परीक्षणका लागि अस्थायी स्वास्थ्य शिविर राखेको छ । स्थानीय प्रशासनसँगको समन्वयमा नेपाली सेनाले उद्धार तथा राहतसँगै स्वास्थ्य शिविर राखेर औषधिसमेत वितरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाले बाढी प्रभावित सप्तरी, नवलपरासी, बाँके तथा बर्दियाका विभिन्न स्थानमा अस्थायी मेडिकल शिविर राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको सैन्य प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिए ।
सेनाको टोलीले हवाई तथा पैदल मार्गबाट राहत सामग्री वितरण गरिरहेको छ । हवाई साधनबाट हाइजेनिक किट, पानी शुद्धीकरण गर्ने औषधि तथा खाद्यान्न प्रभावित इलाकातर्फ लैजाने काम भइरहेको र जनचेतना फैलाउने क्रम जारी रहेको सेनाले जनाएको छ । सेनाले सप्तरी, सिरहा, उदयपुर, धनुषा, रौतहट र नवलपरासीका विभिन्न स्थानमा अस्थायी तटबन्धसमेत निर्माण गरिरहेको छ । धरापझैं बनेका बाँध मर्मत अघि बढाइएको जानकारी कडायतले दिए । सप्तरी, बाँके, बर्दिया र नवलपरासीका विभिन्न स्थानमा अवरुद्ध सडक सुचारु गर्ने काममा पनि सेना खटिएको छ । राहत आवश्यक पर्ने स्थानको जानकारीसमेत सेनाले स्थानीय प्रशासनबाट लिइरहेको जनसम्पर्क निर्देशनालयले जनाएको छ । विभिन्न जिल्लामा उद्धार, राहत तथा तटबन्ध निर्माणका लागि करिब १७ हजार ५ सय सैनिक खटिएका छन् ।

उपत्यका

मन्दिर मिचेर भवन निर्माण

- दामोदर न्यौपाने
वसन्तपुर दरबार क्षेत्रमा महर्जन बिजनेस कम्प्लेक्स बनाउने क्रममा छोपिएको नासल देवता । तस्बिर : कान्तिपुर 

काठमाडौं– विश्वसम्पदा सूचीको हनुमानढोका दरबार क्षेत्रभित्र मापदण्डविपरीत बनेको घरले सर्वसाधारणले पूजा गर्ने मन्दिर पनि छोपेर निर्माण गरेको पाइएको छ । हनुमान ढोका दरबारको संरक्षित क्षेत्रको ‘पोपर्टी जोन’मा महर्जन बिजनेस एसोसिएसन प्रालिले सर्वसाधारणले पूजा गर्दै आएको नासल देवताको मन्दिर छोपेर घर निर्माण गरेको हो ।
‘सर्वसाधारणलाई पूजा गर्नै नमिल्ने गरी घर निर्माण भइरहेको छ,’ स्थानीयवासी गणपतिलाल श्रेष्ठ भन्छन्, ‘भवन मापदण्डविपरीत बनेको भनेर पुरातत्त्व विभागले भनिरहेको छ । भन्दाभन्दै पनि टेरेका छैनन् । हाम्रो मन्दिरै छोपेर पूजापाठमा अप्ठ्यारो पारिदिएका छन् ।’ काठमाडौं महानगरपालिका वडा नं २४ को कित्ता नं. ९४२ मा यसरी भवन बनेको हो । भवनको स्वामित्व कृष्णलाल महर्जनको नाममा छ । यो भवनमा पहिला क्रिस्टल होटल थियो । भुइँचालोले भत्काएपछि यहाँ व्यावसायिक कम्पलेक्स बनाउन लागिएको हो । पहिलाको जत्रो थियो, त्यत्रै बनाउन महर्जनले अनुमति मागेका छन् । पहिला साढे ५ तला थियो । अहिले जमिन मुनिसहित तीन तला बनेको छ । यति निर्माण हुँदै ३५ फिट नाघिसकेको छ । विश्व सम्पदा क्षेत्रमा ३५ फिटभन्दा माथि संरचना बनाउन पाइँदैन । मापदण्डविपरीत संरचना निर्माण रोक्न पुरातत्त्व विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं उपत्यका विकास प्राधिकरण, हनुमानढोका दरबार हेरचाह अड्डा, काठमाडौं महानगरपालिकालाई साउन १६ मा पत्राचार गरिसकेको थियो । घरधनी लगायतलाई बोलाएर मापदण्डविपरीत नजान कबुलसमेत गराएको थियो साउन १८ मा । तर घरधनीले अझै नटेरी निर्माण जारी राखेका छन् । पुरातत्त्वले २० गते फेरि उपस्थित हुन पत्र काट्यो । यो पत्रलाई अटेर गरी निर्माण जारी राखेको विभागले जनाएको छ । पुरातत्त्व अधिकृत देवेन्द्र भट्टराईले निर्माण जारी राखेकाले कारबाही गर्न सिफारिस गर्दै प्रतिवेदन बुझाएका छन् । ‘नगर्ने कबोल गराइए पनि निर्माण अझै भइराखेको छ,’ भट्टराईले दिएको प्रतिवेदनको टिप्पणी र आदेशमा छ,’ तेस्रो तलामाथि पुन: निर्माण जारी राख्दै कंक्रिट पिलरका लागि डन्डी राखी, रिङ बाँधी कार्य जारी राखेकाले निर्माण कार्य रोकी विभागमा उपस्थित हुन पत्राचार गर्दा घरधनी विभागमा आएनन् । अत: विभिन्न चरणमा प्राविधिकले दिएको प्रतिवेदन र स्वीकृत मापदण्डविपरीत भएको र आफ्नै प्रतिबद्धता, मन्जुरीनामाविपरीत देखिन आएको हुँदा ऐनले तोकेबमोजिम जिल्ला प्रशासन कार्यालयमार्फत अग्रिम कारबाही अघि बढाउनुपर्ने देखिएको छ ।’
जमिनमुनि बनाउने बेलामै मापदण्डविपरीत भयो भनेर पुरातत्त्वले महानगरलाई पत्राचार गरेको थियो । तर काम रोकिएन । ‘यो पुरातात्त्विक मापदण्डविपरीत भएकाले रोक्न हामीले महानगरलाई पत्राचार गर्‍यौं,’ हनुमान ढोका दरबार हेरचाहअड्डाकी प्रमुख अरूणा नकर्मी भन्छिन्, ‘तर काम रोकेर कारबाही गरेको हामीलाई जानकारी दिइएन । उल्टो भवनको तला थप्ने काम भइरह्यो ।’ विश्वसम्पदा क्षेत्रमा अन्डरग्राउन्ड संरचनासमेत बनाउन नपाउने नकर्मी बताउँछिन् । ‘हामीले अन्डरग्राउन्ड संरचना बनाउन पाइँदैन भनेर त्यतिबेलै भनेका थियौं,’ नकर्मी भन्छिन्, ‘तर अन्डरग्राउन्ड संरचना बनाइयो । कि अग्लो बनाउन दिनुस्, नत्र अन्डरग्राउन्ड बनाउन दिनुस् भन्ने माग घरधनीको थियो । यी दुवै गर्न मिल्दैन । मापदण्डविपरीत हुन्छ ।’निर्माणाधीन भवन दरबारसँगै जोडिएको छ । डोजर लगाउँदा पुरातात्त्विक संरचनाका जग हल्लिने, पुराना धारा सुक्ने जस्ता समस्या आउने उनले बताइन् । ‘हामीले महानगरलाई पनि पत्र काटेर मापदण्ड सम्झाइदियौं,’ नकर्मी भन्छिन्, ‘त्यही मापदण्डअनुसार महानगरले नक्सा पास गरोस् । नत्र यो विश्वसम्पदालाई असर गर्छ ।’ सर्वसाधारणले पूजा गर्दै आएको गणेश र कुमारीको मन्दिर समेत यही घरभित्र परेको थियो ।
घर भत्काउने क्रममा कुमारीको मूर्ति जोगाइदिन स्थानीयवासीले माग गरेका थिए ।

Page 5
देश

बाँध भत्किएपछि जोगियो गौर

बाढीको वितण्डा
- भूषण यादव,पवन यादव
रौतहटको नेपाल–भारत सीमा नजिकै भारतले निर्माण गरेको बाँध (बायाँ) र गौरको मुख्य बजारमा बिहीबार बाढीले भिजेको औषधि घाममा सुकाउँदै एक कामदार । तस्बिर : भूषण/कान्तिपुर

गौर (रौतहट)– चार दिनको अविरल वर्षाले सदरमुकाम गौरको तल्लो भाग शनिबारसम्म जलमग्न थियो । त्यही दिन अपराह्न बकैयाखोलाको बाढीले चन्द्रनिगाहपुर–गौर सडक खण्डको सखुअवा चोक भत्कायो । २२ किलोमिटर दूरीको मुख्य बजार डुबानमा पर्‍यो । स्थानीय प्रशासनले बाढीको खतरा आकलन गर्दै चेतावनी दिएकाले स्थानीय जाग्राम थिए । ‘१० फिटसम्म पानी जम्मा भएको थियो,’ गौर भन्सार रोडका थोक सामान विक्रेता जितेन्द्र साहले सम्झिए, ‘चारैतर्फ पानी नै पानी थियो ।’
पानीबाट जोगिन नगरवासी छतमा चढे । पक्की घर नहुनेले धर्मशाला र छिमेकीको घरमा आश्रय लिए । गौरबाट करिब एक किलोमिटर टाढा सीमा नजिक भारतले ठूलो र बलियो बाँध निर्माण गरेकाले पानीको बहाव रोकियो ।
ठूलो बाढी भएकाले स्थानीय र नेपाल प्रहरीले बाँधको साइफन (पानी निकासका लागि निर्माण गरिएको फलामे संरचना) खोल्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई आग्रह गरे । दसगजा नजिक भारतले निर्माण गरेको साइफन नखोलिदिँदा पानीले निकास पाएन । त्यसैले अत्यधिक क्षति भयो । साइफन खोल्नुको सट्टा एसएसबीले नेपालीलाई धपाए । अनि साइफनको सुरक्षार्थ खटिए । आइतबार साँझ बाढी थेग्न नसकेपछि सदरमुकामको पूर्व–दक्षिण किनारमा रहेको भारतको मसाहास्थित बाँध दुई ठाउँमा भत्किएपछि गौरको पानी बैरगनियातर्फ बग्यो । बाँध भत्किएको ठाउँमा एक भारतीय नागरिकको तीनतले पक्की घर पनि बग्यो ।‘सुरुमै साइफन खोलेर नियन्त्रित तरिकाले थोरै–थोरै पानी निकास गरिदिएको भए यति ठूलो क्षति हँुदैनथ्यो,’ उद्योग वाणिज्य संघका संस्थापक सदस्य
देवप्रयाग गुप्ताले भने, ‘उनीहरूले सहयोग गर्नुपथ्र्यो । रोटीबेटीको सम्बन्ध नागरिकस्तरमै कायम रह्यो, प्रशासनिकस्तरमा लागू भएको देखिएन ।’
उनका अनुसार २०५० को वाग्मतीको बाढीपछि भारतले सीमा क्षेत्रमा १२ फिट अग्लो र २५ फिट चौडा बाँध निर्माण गरेको थियो । गौर बजारभन्दा मुस्किलले २ किलोमिटर दक्षिणमा छिमेकी बैरगनिया बजार छ । बाँध भत्काएर प्रवेश गरेको बाढीले बैरगनिया पनि दुई दिन जलमग्न भएको थियो । भारतीय सुरक्षाकर्मीले समयमै साइफन नखोलेको भन्दै गौरवासीले आक्रोश व्यक्त गरे । प्रत्येक वर्षात्मा एसएसबीले साइफन बन्द गर्छ । साइफन निर्माण भएकै पानी निकासका लागि हो । यसपालि क्षति बढी भएकाले छिमेकीको व्यवहारले गौरवासी आक्रोशित छन् ।

लयमा फर्किंदै
५ दिनपछि बिहीबार गौरमा चहलपहल देखियो । भत्किएको चन्द्रनिगाहपुर–गौर सडक खण्डमा डाइभर्सन निर्माण भएपछि बस, जिपलगायतका सवारी सञ्चालनमा आएका छन् । राहत र अन्य सरकारी कामका लागि ग्रामीण भेगबाट आउने स्थानीयको भीड बाक्लो देखिन्थ्यो । मुख्य बजारका दायाँ–बायाँ लस्करै खुलेका पसलका अगाडि व्यापारीले बिक्रीका सामान घाममा सुकाउन राखेका छन् । कामदारको सहायताले पसल सरसफाइ गरिरहेका थिए । रेडिमेड कपडा व्यापारीले छतमा कपडा झुन्ड्याएका छन्। सरकारी कार्यालयका कागजात, फर्निचर पनि परिसरमा निकालिएको छ । निर्वाचन सामग्री भिजेर काम नलाग्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय अझै जलमग्न छ । सीमामा रहेको गौर भन्सार कार्यालय गोदामबाट कर्मचारीले भिजेका मालसामान निकालेर घाममा राखेका छन् । पक्की घरमा क्षति नभए पनि गौर नगरपालिका–३ मा बसोबास गर्ने ६० दलित परिवारका कच्ची घरमा पूर्ण क्षति भएको छ । सरकारले त्यहाँ जनता आवास कार्यक्रमसमेत सञ्चालनमा ल्याएको थियो । सरकारी ढिलासुस्तीले दलितका लागि समयमै पक्की घर निर्माण हुन नसक्दा उनीहरू फुसको घरमा बस्दै आएका थिए । तिनै घर भत्किएका हुन् । ‘सहरमा बाढी प्रवेश गरेपछि मठको छतमा आश्रय लिएका थियौं,’ विन्देश्वर माझीले भने, ‘४ दिनपछि घर फर्कियांै ।’ उनीहरूले हालसम्म कुनै राहत नपाएको गुनासो गरे ।

व्यापार चौपट
गौरका पुराना गल्ला (खाद्यान्न) व्यापारी गोपालप्रसाद अग्रवाल चिन्तित छन् । उनको गोदाममा रहेको ठूलो परिमाणको मसुरो, मुङ, गहँु, तोरी, धान र मकैलगायतका खाद्यान्न पानीमा भिजेर सडेका छन् । कामदार लगाएर बाहिर घाममा निकाल्दै गरेका उनले भने, ‘सिजनका बेला खरिद गरेर राखिएको खाद्यान्न बर्बाद भयो ।’उनका अनुसार गौरको गल्ला व्यापारीको झन्डै १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । ‘बजारमा सप्लाइ गर्नका लागि न त स्टक नै रह्यो,’ उनले भने, ‘न त खरिद गर्ने पैसा नै छ ।’ यहाँको गल्ला भण्डारबाट हेटांैडा, नारायणगढ, काठमाडौंलगायतका बजारमा खाद्यान्न सप्लाइ हुने गरेको अर्का व्यापारी रघुनाथ कलवारले बताए । बैंकको ब्याज र ऋणले सताउन थालेको छ । मेन रोडका कपडा व्यापारी तथा संघका संस्थापक देवप्रयाग गुप्ताले व्यापारीको क्षति यकिन गर्नै गाह्रो रहेको बताए । ‘खाद्यान्न, रेडिमेड, कपडा, इलेक्ट्रोनिक्स, किराना, औषधिलगायतका व्यापारी मारमा परेका छन्,’ उनले भने, ‘संकटग्रस्त घोषणा गरी सरकारले राहत उपलब्ध गराउनुपर्छ ।’ अधिकांश व्यापारीको मूल्य अभिवृद्धि कर (भ्याट) रसिद, खरिद–बिक्री खातालगायतका बिलबीजक भिजेका छन् । ‘कुन पार्टीले कति उधारो लगेको छ, त्यसको लिखित कागजात पनि छैनन्,’ एक व्यापारीले भने, ‘कर के आधारमा तिर्ने ? व्यापार कसरी गर्ने भन्ने चिन्ता लागेको छ ।’ औषधिका थोक विक्रेता सचिन खण्डेलवालले बजार क्षेत्रका खुद्रा औषधि व्यवसायी अत्यधिक मारमा परेको बताए । ‘उनीहरूको एउटै सटर हुन्छ, रातको समयमा बाढी पसेकाले औषधि निकाल्न पाएनन्, सबै भिजेको छ,’ उनले भने, ‘मेरो पनि कम्तीमा ३० लाख मूल्य बराबरको औषधि बिग्रियो । केही सुखाएर प्रयोग गर्न सकिने भएकाले घाटा कम भएको हो ।’
सबै व्यापारीको दयनीय अवस्था छ । २५ वर्षपछि आएको अहिलेसम्मकै ठूलो बाढीले गौरवासी स्तब्ध छन् । ‘सबैको पसलमा क्षति भएको छ,’ स्थानीय सञ्चारकर्मी गौतम श्रेष्ठले भने, ‘सबै पीडित छन् ।
आफ्नो दु:ख कसलाई सुनाउनु ? एक–अर्काको दु:ख र नोक्सान देखेर मन थामेका छन् ।’

महामारीको डर

बाढीपछि नगरपालिकाको बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ । सरसफाइमा नगरपालिकाका कर्मचारीले उचित ध्यान दिएका छैनन् । स्थानीय आफंै सरसफाइमा जुटेका छन् । वरिपरि झाडापखालाका रोगी बढेका छन् । औषधि व्यवसायी खण्डेलवालले बुधबार मात्र ५० कार्टुन स्लाइन पानी बिक्री गरेको जानकारी दिए । गौर अस्पतालका मेडिकल अधिकृत डा. मोहम्मद हुसैनले पानीजन्य रोग बढ्ने खतरा रहेको औंल्याए । ‘महामारीकै रूपमा बिरामी त आएका छैनन्,’ उनले भने, ‘तर, सचेतना फैलाउन आवश्यक छ ।’ सरसफाइ गर्न, पानी तताएर खान, बासी खाना नखानलगायतका सचेतना स्थानीयमा फैलाउन जरुरी रहेको उनले बताए ।

तटबन्ध बग्यो
गुलरिया– दुई वर्षअघि गुलरिया–४ रामपुर टप्पुमा निर्मित तटबन्ध बाढीले बगाएको छ । डेढ सय मिटरको तटबन्ध भत्किएपछि बबई नदीले धार परिवर्तन गरेको छ । पशुहाट, थपुवा, लटकनिया र मस्जदियाको तटबन्ध पनि भत्किएका छन्। रामपुर टप्पुमा ३ करोड र अन्य ४ स्थानमा झन्डै २ करोड रुपैयाँ बराबरको क्षति छ ।
रामपुर टप्पुमा ३ करोड खर्चिएर बनाइएको तटबन्ध कमसल भएकैले बगेको स्थानीय गोविन्द खत्रीले बताए । अहिले उक्त क्षेत्र वरिपरि १० बिघा जति जमिनमा बाढी पसेको छ । त्यहाँ २०७१ साउन अन्तिमको बाढीले ६ जनाको मृत्यु हुनुका साथै पूरै गाउँ बगर बनेको थियो । अहिले पनि तटबन्ध भत्किएपछि सदरमुकाम गुलरियालगायत आसपास क्षेत्र डुबानमा परेको वडाध्यक्ष रामबहादुर रावलले जनाए । सहायक प्रजिअ गन्जबहादुर एमसीले भत्किएको
तटबन्धबारे अनुसन्धान भइरहेको बताए । उनले छानबिनपछि निर्माणमा संलग्न पक्षलाई कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।५ करोडभन्दा बढी रकम खर्चिएको तटबन्ध भत्किएपछि स्थानीयले यसको गुणस्तरमा प्रश्न उठाएका छन् । बर्खामा तटबन्ध भत्किने गरेकाले यसको दीर्घकालीन समाधान खोज्नुपर्ने गुलरिया–५ का सोमप्रसाद थारूले बताए । दशकदेखि गुलरिया तथा आसपास क्षेत्रमा निर्मित अधिकांश तटबन्ध बर्खामा भत्किने गरेका छन् । दशकयता झन्डै १ अर्ब लगानीमा बनाइएका तटबन्ध भत्किएको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालय प्रमुख ध्रुव पोखरेलले एक वर्षको अवधिभित्र भत्किएका तटबन्ध निर्माणको जिम्मा कम्पनीकै हुने बताए ।
बाढीले गुलरिया–नेपालगन्ज खण्डमा सडकमाथिबाट पानी बगेको छ । नदी नियन्त्रणका काम बर्खामा मात्र हुने भएकाले तटबन्ध टिकाउ हुन सकेका छैनन् । बबईले यसअघि प्रयागपुर, पदनाहा, लटकनिया र थपुवाका तटबन्ध बगाएको थियो । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका अनुसार बाढी र कटानले गुलरिया–नेपालगन्ज सडकको भादा खण्ड, मोहम्मदपुर, कुसुम्बाघाट, पण्डितपुर, प्रयागपुर, थपुवा, लटकनिया, घोरपीट्टा, बगही, गुरुवागाउँ, रामपुर टप्पु, कुसुमडाँडालगायत बबई नदीका १६ प्वाइन्ट उच्च जोखिममा छन् ।

बाढीले कटान
दमक– कन्काई नदीमा निर्माणाधीन बाँध बाढीले भत्काएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई पुल सुरक्षाका लागि बनाइँदै गरेको बाँध शनिबारको बाढीले कटान गरेको हो ।
ठेकेदारले काममा लापरबाही गरेकाले बाँध भत्किएको स्थानीयले आरोप लगाएका छन् । पुलसँगै नदीकिनारका २ सयजति परिवार कटानको उच्च जोखिममा छन् । सम्झौताअनुसार ठेकेदारले गत जेठमै काम सक्नुपर्ने हो तर बाढीले भत्काउनुअघिसम्म ४० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय दमकका प्रमुख राजेशकुमार यादवले बताए । प्रवेश–वशिष्ठ–बस्नेत जेभी काठमाडौंले १ करोड ३० लाखमा ठेक्का लिएको हो ।
‘बाँध भत्किनुमा ठेकेदार नै जिम्मेवार छन्,’ शिवसताक्षी–१० का भुवन दाहालले भने, ‘राम्ररी काम गरेको भए भत्किँदैनथ्यो ।’ दुई दिन काम गरेपछि कैयौं दिन चुपचाप बस्ने प्रवृत्ति देखिएको उनले बताए । ‘यो बाँध नबने हामी सबैलाई खोलाले लान्छ । ठेकेदारको लापरबाहीलाई सम्बन्धित निकायले निगरानी गर्नुपर्‍यो,’ दाहालले भने ।कन्काईको पश्चिम किनारमा ३ सय ५० मिटर लामो बाँध निर्माण गर्नुपर्ने हो । ठेकेदार कम्पनीले सम्झौताको ३२ प्रतिशत रकम बुझिसकेको छ । यस वर्षको पहिलो बाढीमै बाँध भत्किएपछि स्थानीय त्रस्त छन् । नदी किनारमा करिब दुई सय परिवारको बसोबास र १५ वटा धार्मिक संस्थाका भवन छन् । शनिबारको बाढीले स्थानीय लालबहादुर विष्ट, डिल्ली थापा र खड्ग वस्तीको घरसमेत भत्काएको छ । बाँध भत्किएपछि वडाध्यक्ष कर्णबहादुर थापाको नेतृत्वमा स्थानीयले सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएका छन् । उनीहरूले भत्किएको बाँध पुन: नयाँ तरिकाले निर्माण गर्नुपर्ने माग राखेका छन् । डिभिजन प्रमुख यादवले ठेकेदार कम्पनीका प्रतिनिधिले तत्कालै बाँध निर्माणको काम सुरु गर्ने प्रतिबद्धता जनाएको बताए । ‘ठेकेदारले गल्ती स्विकारेका छन्, फेरि सुरुदेखि नै बाँध बनाउन सहमत छन्,’ उनले भने ।

देश

‘भाइ लिएर बुवा कहिले आउनुहुन्छ ?’

रौतहट (कास)– जिल्लाको परोहा–३ लौकाहाकी ५ वर्षीया सञ्जु यादवलाई बजार गएका बुवा, आमा, हजुरआमा र बहिनी घर फर्किने आशा छ । उनी बाटो हेर्दै टोलाउँछिन् । ‘बुवा भाइ लिन बजार जानुभएको हो,’ उनले भनिन् । उनलाई एक साताअघि आमालाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा बाढीले बनाएको खाल्डोमा जिप डुबेर आफ्ना अभिभावकको मृत्यु भएको ज्ञान छैन । अझै आमा–बुवा आए/नआएको हेर्न घरी–घरी सडकमा पुग्छिन् ।दिनभर कोही नआएपछि टोलाइरहेका ५८ वर्षीय हजुरबुवा रामसेवकसित सोध्छिन्, ‘भाइ किनेर मेरो बुवा कहिले आउनुहुन्छ ?’ नातिनीको जिज्ञासाले ब्रह्मज्योति उमाविका प्राचार्य रामसेवकले मुटु चिरिने गरेको सुनाए । उनी नातिनीलाई काखमा राखेर भक्कानिने गर्छन् । गत साउन २३ गते रक्षाबन्धनमा साथीलाई उनले ‘मेरो पनि भाइ आउँछ’ भनेकी थिइन् । त्यसपछि बुवा–आमाले ‘भाइ किनेर’ ल्याइदिने आश्वासन दिएका थिए ।जिल्लाभर बाढीले पानी–पानी भएका बेला एक साताअघि सञ्जुकी आमालाई प्रसूति बेथाले च्याप्यो । त्यसपछि ३० वर्षीय चन्द्रकिशोरले एचआर२६ए वाई १९३९ नम्बरको जिप खोजे । गर्भवती पत्नी शर्मिलाकुमारी, छोरी २ वर्षीया आरुसीकुमारी, आमा ५७ वर्षीया सुमित्रादेवी, काकी ४० वर्षीया ललितादेवी र काकाका छोरा २० वर्षीय सरोजलाई चढाए । उनीहरू सवार जिप राजपुर प्राथमिक स्वास्थ्य केन्द्र नजिकै बाढीले सडक बगाएर बनेको खाल्डोमा डुब्यो । अगाडि बसेका राजन र जिप चालक शम्भु यादव मात्र बाँचे । पछाडि बसेका ६ को मृत्यु भयो ।
सञ्जुका हजुरबुवा र बुवा चन्द्रकिशोर कार्यरत विद्यालयमा नर्सरीमा पढ्छिन् । चन्द्रकिशोर निजी स्रोतबाट मावि शिक्षक थिए । छोरा, बुहारी, नातिनी र श्रीमती गुमाएका रामसेवक एक्ली नातिनीलाई काखमा लिएर आँसु बगाउँछन् । ‘अब कसको सहारामा बाँच्ने,’ उनले बिलौना सुनाए ‘कलिली नातिनीलाई कसले पालनपोषण गरिदेला ।’ बुढेसकालमा परिवारको एकैपटक किरिया बस्नुपर्‍यो । ‘हे गंगामाई के गर्‍यौं । मैले के कसुर गरेको थिएँ,’ उनले सुनाए, ‘यस्तो दु:खका दिन किन देखायौं ।’ पहिले यस्ता दु:खका बेला गाउँलेलाई सम्झाउँथे । अहिले उनलाई सम्झाउन छिमेकीलाई गाह्रो भइरहेको छ । उनको अवकाश हुन २ वर्ष बाँकी छ । छिमेकी ६९ वर्षीय महेन्द्र राय यादवले सञ्जुको पालनपोषणलाई लिएर चिन्ता व्यक्त गरे । ‘५ वर्षकी सञ्जुको कुन दुर्दशा हुने हो,’ उनले भने, ‘उसलाई रेखदेख गर्ने कोही रहेन ।’ परिवार गुमेपछि अहिले गाउँ शोकमा डुबेको छ । सधैं कृष्ण जन्माष्टमीको अवसरमा लाग्ने झन्डी मेलाको मुख्य व्यवस्थापकको भूमिकामा खटिँदै आएका चन्द्रकिशोरले ज्यान गुमाएपछि उनका साथीहरू स्तब्ध छन् । ‘चन्द्र अत्यन्त मिलनसार र कर्मशील व्यक्ति थिए,’ उनका छिमेकी दीपेन्द्र यादवले भने, ‘भगवान्ले पनि यस्तै मान्छेलाई खोस्दो रहेछ ।’

देश

ठेकेदार कम्पनीलाई कारबाही माग

बबई पुल भासियो
- कमल पन्थी

बर्दियाको बबई नदीको जब्दीघाटमा बाढीले भासिएको पुल । तस्बिर : कान्तिपुर

 

गुलरिया– बबई पुल भासिएपछि यहाँका स्थानीयले निर्माण कम्पनीलाई कारबाही माग गरेका छन् । शनिबारको
बाढीले जब्दीघाटमा निर्मित ४ सय २५ मिटर लामो पुल भासिएको थियो । जिल्ला प्रशासनले कारबाहीका लागि भौतिक निर्माण तथा व्यवस्था मन्त्रालयलाई अनुरोध गर्दै पत्राचार गरेको छ । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको उक्त पुलमा कमसल सामग्री प्रयोग भएको पाइएको प्रशासनले जनायो । पुल भासिएपछि कारबाहीका लागि पत्राचार गरेको सहायक प्रजिअ गञ्जबहादुर एमसीले बताए । निर्माणकै चरणमा स्थानीयले ठेकेदार कम्पनी र तत्कालीन सडक डिभिजन कार्यालयका प्रमुखको मिलेमतोमा कमसल सामग्री प्रयोग गरेको भन्दै विरोध जनाएका थिए । स्थानीयको विरोधपछि तत्कालीन प्रजिअ विनोदबहादुर कुँवरले काम रोक्ने प्रयास गरेका थिए । पुल कमसल रहेको भन्दै छानबिन गर्न दुई वर्षअघि सिफारिस गरिएको पत्र माथिल्लो निकायमा अझै सुरक्षित रहेको सहायक प्रजिअ एमसीले बताए । पूर्वपश्चिम राजमार्ग जोड्ने उक्त पुल भासिएपछि यातायात प्रभावित छ । बुधबार बिहान आएको बाढीले थप एउटा पिल्लरसमेत भासिएको बारबर्दियास्थित पदनाहाका फूलपाती चौधरीले बताए । उक्त पुल झन्डै ६ वर्षअघि १६ करोड लागतमा निर्माण भएको थियो । बाढीग्रस्त क्षेत्रको हवाई अवलोकनमा गुलरिया आएका भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले पप्पु कन्स्ट्रक्सनमाथि कारबाही गरेर सबै रकम असुल्ने दाबी गरे ।
ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयका तत्कालीन कर्मचारीको मिलेमतोमा स्थानीय प्रशासनको निर्देशन अटेर गर्दै पुल निर्माण गरिएको थियो । ‘ठेकेदार कम्पनीले आफ्नै खर्चमा पुल निर्माण गर्नुपर्छ,’ मन्त्री दहितले भने, ‘धन्न ठूलो दुर्घटना हुन पाएन । मानवीय क्षति नभए पनि कम्पनीमाथि कडा कारबाही गरिनेछ ।’ निर्माण कम्पनीलाई तत्काल कारबाही नगरिए आन्दोलनमा उत्रने स्थानीय गेहेन्द्र ढकालले चेतावनी दिए ।

यातायात सञ्चालन
सदरमुकाम गुलरिया हुँदै नेपालगन्ज जोड्ने सडक खण्डमा यातायात सुचारु भएको छ । सुरक्षाकर्मीको सहयोगमा सडक मर्मत गरी आउजाउ सुचारु गरिएको हो । राजापुर सडक खण्डको यातायात सेवा पनि सुचारु भएको प्रहरीले जनायो । बाढीले बगाएका विद्युत्का पोल र तार जडान भएपछि बुधबारदेखि विद्युत् सेवा पनि नियमित भएको छ ।

 

Page 6
सम्पादकीय

चिनियाँ भ्रमणको सन्देश

चीनका उपप्रधानमन्त्री वाङ याङ नेपालमा तीन दिन बिताएर बिहीबार स्वदेश फर्केका छन् । पाकिस्तानको स्वतन्त्रता दिवस समारोहमा प्रमुख आतिथ्य ग्रहण गरेर उनी काठमाडांै आएका हुन् । आफूले पाकिस्तानमा एक रात, तर काठमाडौंमा तीन रात बिताएको भन्दै उनले नेपाललाई बढी महत्त्व दिएको समेत उल्लेख गरेका छन् । यथार्थमा यो ‘महत्त्व’ भन्दा पनि ‘आवश्यकता’ ले निर्धारण गरेजस्तो देखिन्छ । चीनका निम्ति पाकिस्तान विश्वासिलो सदाबहार सामरिक सहयात्री रहँदै आएको छ, जसको तुलनामा नेपालको भूराजनीतिक झुकाव कस्तो रहन्छ भन्नेमा सायद बेइजिङ पूर्ण रूपमा विश्वस्त छैन । खासगरी भारत–चीनबीच दोक्लम विवाद चर्केपछि तरंगित क्षेत्रीय राजनीतिमा आ–आफ्नो प्रभाव बढाउन हाम्रा दुवै छिमेकी अग्रसर भएका छन् । बिमस्टेक बैठकको अवसर पारेर भारतीय विदेशमन्त्री सुष्मा स्वराज आएलगत्तै चिनियाँ उपप्रधानमन्त्री वाङको काठमाडौं आगमन यसकारण अर्थपूर्ण छ । भूटान–चीन सीमाको दोक्लम क्षेत्रमा भारतीय र चिनियाँ सेना दुई महिनादेखि आमनेसामने भएयता दुवै देशले कूटनीतिक ‘लबिइङ’ तीव्र बनाएका छन् । नेपालले दोक्लम विवादमा ‘तटस्थ’ रहने धारणा सार्वजनिक गरेपछि भारतले त्यसप्रति औपचारिक टिप्पणी गरेको छैन, तर चीनले उक्त नीतिको स्वागत गरेको छ । उपप्रधानमन्त्री वाङले नेपाल आफ्नो अडानमा कायम रहोस् भन्ने आशय काठमाडौंका भेटघाटमा प्रकट गरेका छन् । उनले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालगायत सबैजसो राजनीतिक शक्तिका प्रमुख नेताहरूलाई भेटेर चिनियाँ सन्देश प्रवाह गरेका हुन् । नेपालले क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मुद्दाहरूमा आफ्नो राष्ट्रिय हित हेरेरै दृष्टिकोण बनाउनुपर्छ । हालको ‘तटस्थ’ नीतिका सन्दर्भमा पनि चीनले के भन्यो वा भारतले के ठान्यो भन्ने आधारमा धारणा बनाउने होइन, आफ्नै हित हेरेर अगाडि बढ्ने हो । दोक्लम मामिलामा तटस्थता मूलभूत रूपमा सही छ, त्यसकारण पनि त्यसभन्दा दायाँबायाँ लाग्नु हुन्न । बरु सक्रिय कूटनीति अख्तियार गरेर दुई छिमेकीको टकराव मत्थर बनाउन धेरथोर भूमिका खेल्न सकिने ठाउँ छ भने त्यसतर्फ विचार पुर्‍याउनुपर्छ ।
चिनियाँ उपप्रधानमन्त्री वाङको दोस्रो उद्देश्य ‘कनेक्टिभिटी’ का आफ्ना योजनाहरूमा नेपाली संलग्नता बढाउने विषयमा केन्द्रित रहेको देखिन्छ । खासगरी नेपाल–चीन सीमा नाकाका सन्दर्भमा चिनियाँ योजना र नेपाली प्राथमिकताबीच मेल खान्छ भने त्यसलाई अगाडि बढाउनु उचितै हुनेछ । वाङको भ्रमण क्रममा तातोपानी नाका हुँदै कोदारीलाई काठमाडौंसँग जोड्ने सडक चौडा पार्ने र त्यहाँ एउटा पुल निर्माण गर्ने कुरा पनि परेको छ । तातोपानी नाका लामो समयदेखि बन्द रहँदै आएको र कोदारी राजमार्ग बारम्बार प्राकृतिक प्रकोपको सिकार भइरहेको अवस्थामा त्यसको पुनर्निर्माणमा चिनियाँ तत्परता सकारात्मक छ । तातोपानी नाका बन्द गर्ने होइन, त्यसलाई व्यवस्थित गर्दै द्विदेशीय नाकाका रूपमा सुचारु गर्नुपर्ने खाँचो छ । साथै केरुङ नाकातर्फको व्यापारिक सम्पर्कलाई अरू सहज बनाउनुपर्नेतर्फ पनि दुई देशको ध्यानाकृष्ट हुनुपर्छ । आफ्नो रेल सञ्जाललाई केरुङ हुँदै नेपालतर्फ ओराल्ने चिनियाँ परियोजनाप्रति नेपालको सक्रिय संलग्नता जरुरी छ । यसका लागि केपी ओली नेतृत्वको सरकारको पालामा गरिएको यातायात तथा पारवहन सम्झौताको ‘प्रोटोकल’ लाई अन्तिम रूप दिने कार्यमा भइरहेको ढिलाइ हाम्रै राष्ट्रिय हितमा छैन । तसर्थ परराष्ट्र संयन्त्रको अबको प्राथमिकता यसलाई अगाडि बढाउनेमा केन्द्रित हुनुपर्छ ।
उपप्रधानमन्त्री वाङको भ्रमणका अवसरमा दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग सम्झौता, लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनको खाका सम्झौता र पेट्रोलियम पदार्थको अन्वेषणसम्बन्धी पत्र आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यीमध्ये अन्तिम सम्झौता अर्थपूर्ण छ, जसको कार्यान्वयनले नेपाली भूमिमा के–कस्तो इन्धनको के–कति सम्भावना छ भन्नेबारे आधिकारिक जानकारी प्राप्त हुने अपेक्षा राख्न सकिन्छ । चीनले भूकम्पबाट क्षतिग्रस्त वसन्तपुर दरबारको पुनर्निर्माण गर्नेदेखि लिएर मधेसका बाढीपीडितहरूका लागि आपतकालीन सहायतास्वरूप १० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेर जनस्तरमा सकारात्मक छवि विस्तार गर्न चाहेको पनि देखिन्छ । वाङ भ्रमणको सन्देश र पछिल्ला घटनाक्रम हेर्दा चीन नेपाल र समग्र दक्षिण एसियातर्फ आक्रामक रूपमा आउन चाहेको संकेत मिल्छ, जसबाट उत्पन्न हुन सक्ने अवसर र चुनौती दुवैको सामना गर्न सक्ने ढंगबाट हाम्रो कूटनीतिक सामथ्र्य वृद्धि गर्न जरुरी छ । तर यसका निम्ति राजनीतिक नेतृत्वको अझै पर्याप्त ध्यानाकृष्ट हुन सकिरहेको छैन ।

दृष्टिकोण

भारत–चीन विवाद र नेपाल

हाम्रो लक्ष्य ‘भगवान्ले बनाएको’
- ध्रुव कुमार

कुनै बेला हाम्रो ऐतिहासिक सन्दर्भमा एक भारतीय राजदूतले पञ्चायत व्यवस्थाका प्रबद्र्धक राजा महेन्द्रलाई भगवान विष्णुकै प्रतिछाया मानेर स्तुति गरेका थिए । अहिले यतिबेला त्यही मित्रराष्ट्रका अर्का राजदूतले नेपाल–भारत सम्बन्ध भगवानले बनाएको सम्बन्ध हो भन्दैछन् । कूटनीतिक सेवामा खारिएका राजदूत तहको व्यक्तिबाट त्यस्तो अभिव्यक्ति सार्वजनिक हुनु निश्चय पनि उदेकलाग्दो कुरा हो । तर यति गहिरो दैविक सम्बन्ध गाँसिनु यी दुई राष्ट्रहरू बीचको कूटनीतिमा सारहीन भने छैन ।त्यसबेला भारतलाई सन् १९६२ को चीनसितको युद्धोपरान्तको अवस्थामा सानो छिमेकी नेपालको मन जित्नुपर्ने अपरिहार्यता थियो । यसबेला पनि अर्काे सानो छिमेकी भुटानले दाबी गरेको तर चीनले आफ्नो भूभाग भनी अडान लिएको डोकलाङ पठारमा भारत र चीनका सेना आमने–सामने हँुदा ती दुई राष्ट्र बीचको सम्बन्ध अति तिक्ततापूर्ण चरणमा पुगेको र गाँठो फुकाउन सकिएको छैन । यस विवादित सामरिक–राजनीतिक घटनाक्रमको परिप्रेक्ष्यमा हाम्रा छिमेकीहरूलाई नेपालको कूटनीतिक धारणाको सान्दर्भिकता बढेको छ । नेपालले के भन्छ भन्दा पनि व्यवहारमा के गर्छ भन्नेबारे भारत र चीन दुवै प्रतिक्षारत छन् ।
हुन त डोकलाङ मुद्दामा नेपालले सरकारी स्तरमा तटस्थताको औपचारिक घोषणा गरिसकेको छ । शक्तिशाली मित्रराष्ट्रहरूको प्रतिद्वन्द्वतामा सानो छिमेकीको निम्ति तटस्थता नै औचित्यपूर्ण नीति निर्णय हो । तर हामीले बुझ्नुपर्ने के भने यही सरकारी घोषणाको आधारमा भारत र चीनजस्ता मुलुकहरूको नेपालप्रतिको दृष्टिकोण बन्दैन । दुवै मुलुकका नेपालस्थित दूतावास र सक्रिय ‘इन्टेलिजेन्स’को सूचना सम्प्रेषण र विवेचनाले ती मुलुकको नीति निर्माण कार्यमा महत्ता राख्ने गर्छ । हामीकहाँ भने अन्तर्राष्ट्रिय गैरसरकारी संगठनहरूको समेत सिंहदरबारभित्रै पैठ र पहुँच भएको अवस्थामा विभिन्न क्षेत्रबाट सूचना प्रवाह हुनेमात्र नभई गोपनीयतासमेत खुस्किने सम्भावना बढेको छ । यसैसित उच्चस्तरीय राजनीतिक भ्रमण र औपचारिक भेटघाटमा हुने वार्ता, अनौपचारिक भलाकुसारी र नेतृत्व बीचको व्यक्तिगत सम्बन्ध निश्चय नै नीतिगत व्यवहारको निम्ति प्रभावकारी माध्यम हुने गर्छ ।
हाम्रा दुवै मित्रराष्ट्रका प्रतिनिधिहरूको हालै नेपालमा भएको उच्चस्तरीय भ्रमण डोकलाङ मुद्दासित असम्बन्धित भए पनि त्यही मुद्दा नै उत्सुकता र विवेचनाको केन्द्रमा रहेको छ । विशेषत: भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भुटानी विदेशमन्त्री डाम्चो दोर्जेसितको भेटवार्ताले नै विमस्टेक सम्मेलनभन्दा बढी महत्ता पाएको छ । ती दुई मित्रराष्ट्रका प्रतिनिधिहरूबीच वार्तामा के भयो, त्यसको औपचारिक विवरण प्राप्त नभए पनि भुटानी विदेशमन्त्री दोर्जेले भारत र चीनबीच डोकलाङ विवाद शान्तिपूर्ण समाधान होस् भनी अपेक्षा गरेको समाचार प्रकाशित भएको छ । मानौं कि भुटान त्यो मुद्दाको प्रमुख कारक तत्त्व र पात्र नै होइन । भुटानले डोकलाङ आफ्नो भूभाग भनी दाबी गर्दै चीनसित प्रतिवाद गर्नु नै त्यहाँ भारतीय सैन्य उपस्थितिको कारण हुनु र चीनसित विवाद चर्किनुले द्विपक्षीय सम्बन्ध चिसिएको छ । उक्त भेटमा भारतीय विदेशमन्त्री स्वराजले ‘चीनसित नदब्नु’ भनी भुटानी समकक्षीलाई सल्लाह दिएकी छन् ।
भारतीय विदेशमन्त्रीको विमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आगमनले भारतको नेपालसितको सम्बन्धमा आएको प्रक्रियागत परिवर्तनलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । सायद नेपालको संविधानको अपूर्णताको सजायस्वरूप लगाएको नाकाबन्दी प्रत्युत्पादक भएको ठहरपछि ‘नेपालसित राम्रो व्यवहार गर’ (बी नाइस टु नेपाल) आफ्नै आन्तरिक र बाह्य कारणले गर्दा भारतीय नीति भएको छ, अहिले । फलस्वरूप भारतीय विदेशमन्त्रीकै सल्लाहअनुसार संविधानसित असहमति राख्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) ले तेस्रो चरणको स्थानीय निर्वाचनमा भाग लिने भएको छ । यदि इतिहासको त्यो कालखण्डमा भारतको ‘बी नाइस टु नेपाल’ नीतिले प्रजातन्त्रको पुन:स्थापनार्थ नेपाली कांग्रेसले सीमा पारिबाट थालेको सशस्त्र विद्रोह स्थगित भएको थियो भने अहिले मधेस आन्दोलनले उठाएको समावेशी संविधानको प्रमुख माग उपलब्ध नहुँदै तुहिएको छ । भारतको नेपाल नीतिमा आउने उतार–चढावले नै नेपालको आन्तरिक तथा बाह्य नीति प्रभावित हुने गरेको सर्वविदितै छ । तर अहिले राजपालाई निर्वाचनमा भाग लिने सल्लाह वा दबाबको कारण नेपालसित सम्बन्ध सुधार्नकै निम्तिमात्र नभई डोकलाङमा चीनसित चर्केको विवादमा अप्रत्यक्ष रूपमै भए पनि नेपाली जनमत आफ्नो पक्षमा रहोस् भन्ने भारतीय अपेक्षा छ । यसको निक्र्याेलको संकेत हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवाको अर्काे हप्ता हुने भारत भ्रमणले पनि दिन सक्छ । र त्यही आधारमा ‘बी नाइस टु नेपाल’ नीतिमा तलमाथि पनि हुनसक्छ। भारतीय विदेशमन्त्री स्वदेश फिरेको लगत्तैपछि मित्रराष्ट्र चीनका उपप्रधानमन्त्री वाङ याङको नेपाल आगमनसितै विभिन्न अड्कलबाजी भएको छ । नेपाल र चीनबीच के कस्तो समझदारी हुने हो, पूर्व सम्झौताहरूलाई कसरी कार्यान्वयनतिर अघि बढाउने हो र त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर नेपाल र भारतको सम्बन्धमा कस्तो पर्ने हो, त्यसबारे केलाउन थालिएको छ । चीनसितको सन्धि, सम्झौता, खासगरी २०७२ को पारवहन सम्झौता र त्यसको प्रोटोकलबारे नेपाल सरकारले के कस्तो निर्णय लिन्छ, त्यसैको आधारमा चीनसित सम्बन्ध अघि बढ्नेमात्र नभई चीनको ‘बीआरआई’ (वेल्ट एन्ड रोड इनिसियटिभ्स) ले नेपाल सापेक्षित मूर्तरूप लिन सक्छ । यसबाट भारतको नेपालप्रतिको नीतिगत दृष्टिकोणमा पर्ने प्रभावको साथै प्रधानमन्त्री देउवाको भ्रमणताका दुई मित्रराष्ट्रबीच हुने अन्तरक्रियामा समेत प्रतिविम्बित हुनेछ । किनभने नेपाल–चीन र भारतको त्रिकोणात्मक सम्बन्धमा २०७२ को पारवहन सन्धि एउटा कोशेढुंगा भएको छ, जसले ती मुलुकहरूको नीति निर्माण प्रक्रिया प्रभावित भएको छ । भारतले नेपाललाई विशाखापटनम बन्दरगाह र उडिसास्थित अर्काे बन्दरगाह पनि प्रयोगको निम्ति उपलब्ध गराउनु चीनसितको पारवहन सन्धिकै प्रत्यक्ष प्रभाव भनी बुझ्न सकिन्छ ।
चीनको प्राथमिकता पूर्वाधार निर्माण र ‘कनेक्टिभिटी’मा रहेको छ । व्यापार प्रवद्र्धन उसको अर्काे पक्ष हो । बीसौं शताब्दीको उत्तरार्धदेखि विश्वकै ‘फ्याक्ट्री’को रूपमा सञ्चालित चीनको उद्योग–व्यापारलाई विश्व बजारको आवश्यकता पर्छ, जुन सडक सञ्जाल फैलिनुसितै सहज र सुगम हुन्छ । दक्षिण एसियाली भेगमा नेपालको भौगोलिक अवस्थिति र राजनीतिक व्यवस्थाको कमी–कमजोरी चीनको सम्प्रभुताकै निम्ति चुनौती रहेको सन्दर्भमा बेइजिङको मुख्य स्वार्थ (कोर इन्ट्रेस्ट) मा अब सम्प्रभुता र भौगोलिक अक्षुण्णतासितै व्यापार प्रवद्र्धन पनि जोडिएको छ, जसमा चीनको अर्थतन्त्र निर्भर हुनेछ । चिनियाँ कूटनीतिमा ‘कनेक्टिभिटी’को सैद्धान्तिकभन्दा व्यावहारिक पक्षले प्राथमिकता पाउनु र त्यहीअनुरूप पूर्वाधार निर्माणमा जोड दिनु विभिन्न मुलुकका राष्ट्रिय नेतृत्वबीच व्यक्तिगत पारस्परिक सम्बन्ध विकसित गर्दै आफ्नो उद्देश्य परिपूर्ति गर्ने लक्ष्यसित चीन अघि बढेको छ । नेपालसितको द्विपक्षीय सम्बन्धमा अभिवृद्धि गर्नुसित चीन ‘बीआरआई’मा लगानी र कार्यान्वयनको पक्षमा नेपालसित सहकार्य गर्न चाहन्छ । चीनका उपप्रधानमन्त्री वाङले यसप्रति नेपालको सक्रियताको अपेक्षा गर्नुको अर्थ नेपालका नेतृत्व वर्ग आफ्नो प्रतिबद्धताप्रति इमानदार रहनुपर्ने आवश्यकताप्रति संकेत गरेका थिए । प्रधानमन्त्री देउवासितको शिष्टाचार भेटमा चिनियाँ नेता वाङले आफ्नो भ्रमणको उद्देश्यबारे संक्षेपमा भए पनि अवगत गराए होलान् । यसबाट देउवाको भारत भ्रमण कसरी प्रभावित हुनेछ, त्यो त हेर्नु नै बाँकी छ । यद्यपि डोकलाङबारे द्विपक्षीय वार्तामा कुनै कुरा नभएको परराष्ट्रमन्त्री कृष्णबहादुर महराको भनाइ रहे पनि यस विषयमा काठमाडौंले आफूलाई व्यावहारिक रूपमा कसरी प्रस्तुत गर्नेछ भनी बेइजिङ र नयाँदिल्ली दुवै चनाखो भएका छन् ।किनभने, गत साउन २४ मा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भारत भ्रमणको क्रममा चीन र भारतबीचको तनाव कम गर्न पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले पहल गर्नुपर्ने केन्द्रीय सदस्यहरूको सुझाव थियो । हुनसक्छ, पार्टीका केन्द्रीय सदस्यहरूको यो भनाइ बैठक भएको अघिल्लो दिन साउन २३ गते कान्तिपुरमा प्रकाशित ‘नेपाल–चीन सम्बन्धको कडी’ शीर्षकको चिनियाँ प्राध्यापक हु सेसङको संक्षिप्त लेखबाट प्रभावित थियो । प्रा. हुका साथै चीनका अन्य प्राज्ञहरूको नेपाली नेताहरू बारेको दृष्टिकोण चेतनाथ आचार्यको ‘नेपालले सिक्किमबाट पाठ सिकोस्’ भन्ने ३१ साउनमा कान्तिपुरमा प्रकाशित अर्काे लेखमा पढ्न पाइन्छ । तसर्थ हामीप्रति हाम्रा मित्रराष्ट्रहरूको कस्तो दृष्टिकोण छ, त्यसलाई बुझ्ने प्रयासबिना मध्यस्थताको निम्ति प्रस्तुत हुनु कतै कूटनीतिक अपरिपक्वता त हुने होइन ? ती मित्र राष्ट्रहरूसितको हाम्रो सम्बन्धमा आँच आउने त होइन ?
किनकि डोकलाङ मुद्दालाई लिएर चीन भारतसित निकै चिढिएको प्रतीत हुन्छ । भारतीय पक्षले सम्बन्ध अझै बिग्रन नदिन केही सकारात्मक संकेत गरे पनि चीन त्यसबारे प्रतिक्रियाहीन रहेको छ । विवाद नचर्कियोस् भन्ने हेतुले नै भारतले बंगालको खाडीमा अमेरिका र जापान सम्मिलित नियमित मालावार नौसैनिक अभ्यासमा सहभागी हुन अस्ट्रेलियाले गरेको अनुरोध स्विकारेन । यसले गर्दा एसिया प्रशान्त क्षेत्रको जलाशयको साथै हिन्द महासागरमा ‘एसियन नेटो’को बीजारोपण हुनसक्ने चीनको आशंका निर्मूल भएको छ । साथै आगामी नोभेम्बरमा बंगलादेशको तत्त्वावधानमा बंगालको खाडीमा २३ तटीय राष्ट्रहरू सम्मिलित अन्तर्राष्ट्रिय नौसैनिकको खोजी र उद्धार कार्य अभ्यासमा भारतले चीनको नौसेनासित सहअभ्यास गर्ने घोषणा गरेको छ । त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम्ले यही महिना चीनको सिचुवान प्रान्तमा गएको भूकम्पबाट भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन् । विदेशमन्त्री सुष्मा स्वराजले ४ अगस्टमा राज्यसभाको बहसमा चीन हाम्रो आर्थिक उन्नतिमा सघाउने एक प्रमुख राष्ट्र हुनुका साथै आर्थिक अभिवृद्धिको सहयात्री हो भनी दिएको वक्तव्य मननीय छ ।तर चीन के सोचिरहेको छ, हामी केही अनुमान गर्नसक्ने स्थितिमा छैनौं । किनभने डोकलाङ चीनको सम्प्रभुतासित जोडिएको मुद्दा हो । यसैले पनि हुनसक्छ, भारतसितको द्विपक्षीय तनाव शिथिल गर्न भारतको स्थलसेना तथा चीनको जनमुक्ति सेनाको उपरथी (मेजर जनरल) स्तरमा छलफल गर्न गत शुक्रबार निर्धारण गरिएको बैठक हुन सकेन । अगस्ट १ को जनमुक्ति सेना दिवसको उपलक्ष्यमा पहिले हरेक वर्षजस्तै सीमाक्षेत्रका भारतीय सेनालाई आमन्त्रित गरिएन । र अगस्ट १५ को भारतीय स्वतन्त्रता दिवस समारोहमा सीमा सुरक्षाकर्मीहरूबीच भेटघाट हुनुको साटो पूर्वी लद्दाखको पाङगोङ छोमा दुवै मुलुकको सुरक्षाफौजबीच ढुंगा हानाहान हुँदा केही सैनिक घाइते भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । यो शुभसंकेत भने होइन ।
डोकलाङ विवादले भारत–चीन बीचको सम्बन्ध कस्तो मोडमा पुग्न सक्छ भनी ठम्याउन आउँदो सेप्टेम्बरमा चीनले आयोजना गर्ने ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुँदा उनी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ‘साइड लाइन’मा के कस्तो सम्पर्क र संवाद हुन्छ वा हुँदैन, त्यसैबाट भवितव्यलाई टार्न सकिने वा नसकिने सम्भावना पहिल्याउन सकिनेछ । यसका निम्ति केही समय पर्खनु नै पर्नेछ । त्यसैले हाम्रो लक्ष्य भने ‘भगवान्ले बनाएको’ नेपाल–भारत सम्बन्धलाई आफ्नो राष्ट्रिय हितमा कसरी क्रियाशील गर्न सकिन्छ भनी नयाँदिल्ली पुग्दा हाम्रा प्रधानमन्त्रीले सोचे पुग्छ । भारत–चीन विवाद सल्टाउन उनीहरू नै सक्षम छन् ।

पाठक मञ्च

राहत वितरण सहज बनाऊ

अधिकांश बाढी पीडितको दैनिकी अत्यन्त कष्टकर बनेको छ, अहिले । लत्ताकपडा, सरसफाइ, औषधोपचार, खानेकुरा र खानेपानीको अभाव एवं सर्पदंशबाट अकाल मृत्यु पनि नहोला भन्न सकिने अवस्था छैन । तथापि राहतमा अग्रसर
सहयोगी हातहरू हजारौंका संख्यामा देखिएका छन् ।
राजनीतिक दल, स्कुल, कलेज विश्वविद्यालय, गाउँ–नगरस्थित समूह, समिति, सहकारी संघ–संस्था, विद्यार्थी संघ–संगठन, कर्मचारी ट्रेड युनियन, शिक्षक, प्राध्यापक संघ, उद्योग वाणिज्य संघ, आध्यात्मिक र सामाजिक संस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारी, नवनिर्वाचित जनप्रतिनिधिका साथै हजारौं सर्वसाधारण सहयोग पुर्‍याउन इच्छुक देखिएका छन्। तर राहत वितरण कार्य एकद्वार प्रणालीबाट गर्ने सरकारी सूचना जारी भएपछि नझस्कने कोही छैनन्, यतिबेला ।
सम्पूर्ण तराई क्षेत्रलाई बाढीले तहसनहस बनाएर कोलाहल मच्चिएका बेला गृह मन्त्रालयको पछिल्लो निर्णयले अनगिन्ती प्रश्न खडा गरेको छ । यस्तो संकटको घडीमा सरकारी कर्मचारीलाई मात्र इमानदार, सक्षम ठानेर अरूलाई टेढो आँखाले हेर्न सुहाउँछ ? हवाई निरीक्षण गरेर निर्देशन दिने अभियानले अभावमा तडपिएका सर्वसाधारणबीच कति राहत पुगेको छ ? जिल्ला प्रशासन कार्यालयको वातानुकूलित सभाहलमा छलफल, गोष्ठीमा भिड लाग्ने तर अधिकांश प्रभावित क्षेत्रमा एक सातासम्म कर्मचारीको मुख नदेखेको गुनासो आइरहँदा कर्मचारीबाट केको आशा गर्न सकिन्छ ? पलपलमा जोखिम बढेका बेला जिल्ला प्रशासन कार्यालयले लेखाजोखा, केरकार गरी बहिखातामा इमानदार संघ–संस्था र व्यक्तिको नाम चढाएर कछुवा चालमा राहत पुर्‍याउन खोज्नु हास्यास्पद विषय होइन ? सरकारले सहजकर्ता र समन्वयकर्ताको भूमिका निभाएर राहत वितरण सहज पार्नसके बाढी पीडितमाथि ठूलो उपकार गरेको ठहरिन्छ ।
– डा. भुवनेश्वर शर्मा
चन्द्रागिरि–२, काठमाडौं

 वरिष्ठ अधिवक्ता उपाधिमा प्रश्न
साउन ३२ गते कान्तिपुर दैनिकमा ‘वरिष्ठ अधिवक्ताको लर्को’ शीर्षकको समाचार पढेपछि ऐन र मापदण्ड विपरीत भएको उक्त कार्यप्रति केही लेख्न मन जाग्यो । स्वतन्त्र रूपमा कानुन व्यवसायमार्फत समाजमा लामो समय योगदान गरेको, विधिको शासन प्रबद्र्धनमा सहयोग पुर्‍याएको र सर्वोच्च वा पुनरावेदन (उच्च) अदालतमा १५ वर्ष वकालत गरेको, पेसाको उच्च मर्यादा राख्ने कानुन व्यवसायीलाई सम्मानस्वरुप नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० अनुसार सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि दिने प्रावधान छ । यसै अनुरुप यही साउन २५ गते सर्वोच्चको निर्णयले २०४९ साउनसम्म अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेका २ सय ७२ जना कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । न्यायाधीश, महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, पूर्वनायव महान्यायाधिवक्ता, सर्वोच्च अदालतका रजिस्टारका रूपमा अवकाश पाएका, अमेरिका बसेको दुई दशक पुगेका, राजनीतिमा सक्रिय तर कानुन व्यवसाय छाडिसकेका, पूर्वमन्त्री एवं विभिन्न दलका नेताले समेत वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । त्यतिमात्र नभई कुनै व्यक्ति विशेषलाई वरिष्ठ बनाउनकै लागि न्यायाधीशले निकै जोडबल गर्नु, केही न्यायाधीशको विमति वा नोट अफ डिसेन्ट लेख्दालेख्दै पनि वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गर्नुले म एक कानुन व्यवसायीलाई एक स्वतन्त्र न्यायपालिकाले विधिको उपहास हुने कार्य गरेको त होइन भन्ने महसुस भएको छ । मापदण्ड तथा ऐनलाई लत्याउँदै नितान्त दलीय भागबन्डा, व्यक्तिगत पहुँच, स्वार्थ, नातावाद कृपावाद एवं राजनीतिक हस्तक्षेपको सिद्धान्तलाई अवलम्बन गरी वरिष्ठ अधिवक्ताको उपाधि दिने कार्यले न्यायप्रतिको गरिमा र जनविश्वास खस्कँदै जाने सम्बन्धमा ध्यान दिन जरुरी छ । हामी अपेक्षा गर्छौं, आउँदा दिनमा निर्दृष्टि ऐन बमोजिम पेसामा स्वतन्त्र रूपमा सक्रिय भई वकालत गर्ने कानुन व्यवसायीले मात्र वरिष्ठ अधिवक्ताको उपाधि पाउनेछन् ।
– विकास त्वंजु
भक्तपुर

 विवेक पुर्‍याउने बेला
समयको कालखण्डमा देशले नाकाबन्दी ब्यहोर्‍यो । भारतले नेपालमाथि गरेको थिमोमिचोको त्यो ज्वलन्त उदाहरण थियो । नाकाबन्दीबाट मधेस र पहाडबीच द्वन्द्व सिर्जना गर्ने निकै ठूलो प्रयास भयो । त्यसो त आफूलाई मधेसवादी भन्ने केही नेता भारतीय गोटीका रूपमा प्रयोग भएर पहाडे र मधेसीबीच दरार सिर्जना गर्ने क्रममा आजपर्यन्त लागिनै रहे । हामीले वैशाख १२ को भूकम्प ब्यहोर्‍यौं । तराई एक प्रकारले सुरक्षित थियो । केही पहाडी जिल्ला उठ्नै नसक्नेगरी भूकम्पबाट पुरिएका बखत पहाडीहरूका लागि पहिलो सहयोगस्वरुप त्यही मधेसले चिउरा लगायत अत्यावश्यक सामग्री राहतस्वरुप पठाएर तराई र पहाड बीचको अन्तरसम्बन्धलाई पुष्टि गरेको इतिहास साक्षी छ । पछिल्लो समय राजनीतिक अतिवादीहरूले आफ्नो निहित स्वार्थका लागि मधेस र पहाडबीच दरार उत्पन्न गराउने प्रयास निरन्तर गरिरहेका छन् । यद्यपि जनस्तरमा त्यो दरार छैन । पहाडमा चोट लाग्दा तराईलाई दुखेको छ र तराईमा आँधी आउँदा पहाडले छेकेको छ । यसबखत पहाडका केही भागलाई पहिरोले भग्न बनाएको छ भने तराईका अधिकांश भागहरू जलमग्न बनेका छन् । हरेक नेपालीले एकपटक छातीमा हात राखेर सोच्ने बेला आएको छ । काठमाडौंको ठूला र सुरक्षित महलमा बसेर ती घरबारविहीन बनेका नेपालीको पीडालाई टेलिभिजनको पर्दामा हेरेर मनोरञ्जन लिने कि उनीहरूका लागि मलहम बनेर दुखेको घाउमा लगाउने ? यो विवेक पुर्‍याउने बेला हो । विस्तारै फुट्दै गरेको नेपाली मनहरूलाई जोड्ने उचित अवसर पनि हो यो । मधेसको पीडामा पहाडबाट लगाइने महलमले देशलाई तोड्न खोज्नेहरू विरुद्ध गतिलो झापड दिने अवसर पनि हो यो । नेपालको एउटा अंगमा चोट लाग्दा अर्को अंगमा पीडाको महसुस हुनुपर्छ । तराईमा बगेको आँसुलाई पहाडले रोक्न सक्नुपर्छ । तराईले भोगेको पीडालाई अब प्रत्येक पहाडीले आफ्नै पीडा सम्झेर साथ र सहयोग गर्ने बेला आएको छ ।
– उत्तम पुडासैनी
जोरपाटी, काठमाडौं

‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।’ यो गीतको सान्दर्भिकता दुईपटक हामीले मनन गर्‍यौं । दुई वर्षअघि देशमा महाप्रलय आएका बेला के पहाड के तराई सबै एकजुट भएर पीडितको आँसु पुछ्ने काम भयो । तराईका प्रत्येक जिल्ला, प्रत्येक गाउँ र प्रत्येक घरबाट सहयोगी हात राहत संकलनमा जुटे र पहाडका जिल्लामा पठाइए । यतिखेर तराई डुब्दा काठमाडौंका बासिन्दामा सहयोगी भावनामा कमी आएको बुझिन्छ । राहत संकलन गरी पीडितलाई सहयोग गर्न खासै चासो देखिएको बुभिँmदैन । पीडितप्रति पूर्वाग्रह राखिनु हुँदैन, मनमा कुण्ठा राख्नु हँुदैन । समस्या सबैलाई पर्छ र समस्या परेकालाई सहयोग नगर्दा नकारात्मक सन्देश प्रवाह हुनसक्छ । यो कुरा काठमाडांैबासीले बुझ्नुपर्छ । राहत संकलनमा गृह मन्त्रालयले लगाएको अंकुश अर्थहीन छ । राहत संकलन गर्दा प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर मात्र संकलन गर्नुपर्ने धारणाले दाता वा सहयोगी हात दुखित भएका छन्। प्राकृतिक प्रकोपमा पीडितका नाममा फाइदा लिनेहरू पनि थुप्रै भेटिन्छ । तर त्यसको अनुगमन प्रशासनले गरी राहत संकलनलाई पारदर्शी बनाउनुपर्छ ।
– प्रमोद पौडेल
श्रीपुर–१४, वीरगन्ज

अविरल वर्षाले विशेषगरी तराईका अधिकांश जिल्ला डुबानमा परे । यो समस्या यो वर्षमात्र आइपरेको होइन । वर्षेनि आइपर्ने यस्ता समस्याको दीर्घकालीन समाधान नखोज्दासम्म हरेक वर्ष नेतालाई काम गरेझैं देखाउने र निर्वाचनका बेला भोट माग्न सघाउने नारामात्र बन्छ । सीमामा बनेका बाँधका कारण डुबान भएर धेरैको उठिबास हुने गरेको छ । यसको समाधानका लागि कुन स्वार्थको कारण नेताहरू बोल्दैनन् ?
– सन्तोष आचार्य
भरतपुर– १४, चितवन

 चिकित्सा सेवाप्रति गुनासो
डा. गोविन्द केसी ११ पटक आमरण अनशन बसे । सरकार सम्झौता गर्ने तर काम नगर्ने प्रवृत्तिले उनले बारम्बार अनशन बस्नुपर्‍यो । राजनीतिक दलका नेताले उनको मागका विषयमा केही दिन पहिले दिएका सार्वजनिक अभिव्यक्ति सुन्दा कति संवेदनशील छन् भन्ने प्रस्ट हुन्छ । मेरा केही शुभेच्छुकले मलाई गुनासो गरे कि खालि डा. केसीको मागमात्र जायज छ भनेर मात्र नलेख, चिकित्सा पेसामा संलग्न मानिसका चरित्र वा स्वभावबारे पनि लेख्ने गर भनेर आग्रह गरे । मैले देखेको यथार्थपरक त लेख्ने गरेको छु । कतिपय व्यक्तिगत अनुभवलाई भरसक समग्रतामा नजोडौं भन्ने मेरो ध्येय नै हो ।
केही समय पहिले पोलियो थोपा खुवाउने बेला लापरबाही गरिएको भन्ने समाचार आयो । पोलियो थोपा खुवाउन अवरोध गर्ने वा सहयोग नगर्नेलाई पनि छानबिन गर्ने हौवा सुनियो, तर कारबाही भए–नभएको पढिएन । कतिपय अवस्थामा डाक्टरको लापरबाहीले व्यक्तिका ज्यान गएको समाचार बेलाबखत पढिन्छ । हालैमात्र ओम अस्पताल, चावहिलमा रडाको मच्चिएको सामाजिक सञ्जालमा हेरेको थिएँ । त्यस्तै हालै मात्र केएमसी, सिनामंगलको फार्मेसीबाट म्याद नाघेको औषधी बिक्री भएको पनि समाचार आएको छ । यस्तै अराजकता र मनपरी गर्दासमेत केही नहुने देखेर नै धेरैको मनोबल बढेको हो । सरोकारवाला निकायदेखि नेपाल मेडिकल काउन्सिलले पनि उही नम्बर दिने बाहेक यस्ता कर्तव्यहीन चिकित्सकलाई केही समय अनुमति रोक्का गर्ने वा गम्भीर गल्ती गर्नेलाई खारेज गर्नेसम्म हिम्मत गर्नुपर्छ ।
जुनसुकै विषयगत पढाइमा गुरुहरूले विषयगत पढाइमात्र अवश्य गर्दैनन् होला । किताबी ज्ञान बाहेक नैतिक शिक्षा वा मानवीयताका विषयहरू पनि उल्लेख हुन्छ होला । जस्तोसुकै अवस्थामा पनि यो चिकित्सा सेवा भनेको अलिकता दयामाया वा धर्म या सत्कर्मभित्र पर्ने सम्मानित शिक्षा, पेसा पनि हो । हामीकहाँ त चिकित्सकसमेत राजनीतिमा प्रत्यक्ष लागेका अनगिन्ती उदाहरण छन् । त्यही आस्था र पूर्वाग्रहले चिनजानका चिकित्सकले सेवाभाव कम देखाइदिँदा मैले पनि दु:ख पाउनुपरेको छ । सहर, बजारमै जन्मी हुर्किएर एउटा पहिचान बनाएका धेरैले उच्च मानवीयता देखाएको प्रत्यक्ष देखेको पनि छु । सबैले आफ्नो अधिकार र स्वार्थको लागि बहस गरिरहँदा कर्तव्य र जिम्मेवारी पनि नभुलौं ।
– श्रीकृष्ण राजवंशी
सुनकोसी–३, सिन्धुली

डा. गोविन्द केसीले ११ औं आमरण अनशन २३ औं दिनमा स्थगन गरे । सरकारले सायद लामो सास फेर्‍यो होला । जनताको भलाइका लागि लड्ने डा. केसीको साथमा सरकार छैन । विडम्बना त के भने केही सांसद माग पूरा गर्नुपर्छ भनेर बोल्ने, कोही फेरि विरुद्धमा बोल्ने देखिएको छ । आखिर नेपालीको हित हुने डा. केसीका माग जायज हुन् भने सम्बोधन गर्न किन सक्दैन सरकार ? नभए डा. केसी कसका लागि किन अनशन बसे त ? आन्दोलन जारी राखेका डा. केसीका मागमा बदमासी नगरिकनै सरकारले सम्बोधन गर्नुपर्छ ।
– नवीनकुमार देवकोटा
पञ्चदेवल, विनायक–२, अछाम

बाढी–डुबान र पहिरोले मुलुकमा ठूलो क्षति गरेका बेला
डा. गोविन्द केसीले आमरण अनशन लम्ब्याइरहनु उचित ठानेनन् । अनशन स्थगित गरे । इमान हराएको र माफियातन्त्रले राज गरेको मुलुकमा उनको आन्दोलन जारी छ । आज उनको पक्षमा हजारौं नागरिक लागेका छन्, भलै सरकार तिनका आवाज नसुनेझंै गरिरहेको छ । कैयौं नेताले गर्न नसकेको काम त डा. केसीले गरिरहेका छन् । तर उनका माग पूरा नगराउन विभिन्न प्रोपोगन्डा भैरहेका छन् । मनमोहन अस्पतालको कुरामात्रै देखाएर अन्य कुरा ओझेलमा पार्न खोजिएको छ । डा. केसीको यो सत्याग्रह कुनै पार्टी र अस्पताल विरुद्ध होइन, यो त चिकित्सा शिक्षा र स्वास्थ्यसेवामा भएको अति निजीकरण, व्यापारीकरण विरुद्ध हो । तसर्थ अनशन स्थगित भएको समयमा उनका माग पूरा गर्न सरकार लागिपर्नु पर्छ ।
– सन्तोष सिम्खडा
भीमसेन– २, गोर्खा

 समावेशी लोकतन्त्रको आभास
राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र जातीय दृष्टिले भिन्न समुदायका प्रत्येक जनताले राज्य सञ्चालनका सबै क्षेत्रमा समानुपातिक सहभागिताको अवसर पाउनुपर्छ भन्ने मान्यताका साथ समावेशीकरणको अवधारणा आएको हो । तर नेपालमा सबै समुदायले समानुपातिक रूपमा अवसर पाउनसकेका छैनन् । यसलाई हामीले कसरी समावेशी लोकतन्त्र भन्ने ? जनतालाई समावेशी लोकतन्त्रको आभास दिलाउन आवश्यक छैन ?
– दिनेश अर्याल
काठमाडौं

 परीक्षार्थीलाई मर्का
बाढी–पहिरोले धेरै जिल्ला प्रभावित भएको विषयमा लोकसेवा आयोग अनभिज्ञ छैन होला । पडाडमा पहिरो र तराईमा बाढीले सडक यातायात प्रभावित छ । आफन्त गुमाउनु र घरबासबाट उठिबास हुनुको पीडा पनि छँदैछ । यस्तो स्थितिमा आयोगले सञ्चालन गर्ने सबै संघ–संस्थान र निकायका परीक्षाहरू कम्तीमा भदौ १० गतेसम्म स्थगन गर्न अनुरोध छ ।
– प्रकाशप्रसाद घिमिरे
[email protected]

 राम्रो नेपाल
बाढी पीडित तराईलाई मलमपट्टी गरौं
समय र फुर्सद हुँदा मधेसतिर झरौं ।
हिमालको चिसो पानी पहाडैको बुटी
दु:खपीडा भगाउनुुछ हामी सबै जुटी ।
सेतो फेटा मेरो देशको हरियो छ कोट
सबै हामी एउटै सन्तान लाउनुहुन्न खोट ।
फराकिलो आँगन हाम्रो मधेस भन्ने नाम
कसले राख्यो राम्रो नेपाल हाम्रो देशको नाम ।
– कृष्ण कुम्पुरे
धादिङ

Page 7
विविधा

दलालको कब्जामा नेपाली अर्थतन्त्र

- टीकाराम भट्टराई

म अर्थशास्त्रको विद्यार्थी होइन, यसर्थ यो विषयमा मेरो अल्पज्ञान छ । तर एउटा उपभोक्ता अधिकारकर्मी र कानुनको विद्यार्थी भएको नाताले यो विषयमा बहस गर्न मन लाग्यो । दलाली प्रक्रियाले उत्पन्न गरेको परिणामबाट आक्रोशित एक युवाको वास्तविक घटना चक्रबाट ।दोलखाको वैतेश्वर गाउँपालिका निवासी ३५ वर्षीय केशव दाहाल भूकम्प पीडित हुन् । भूकम्पका कारण उनको घर र चार माउ भैंसीसमेत जमिनमुनि भासियो । आजसम्म उनको परिवारले ५० हजार रुपैयाँभन्दा बढी राहात पाएको छैन । सरकारले घोषणा गर्‍यो– भूकम्प पीडितलाई राहतस्वरुप ट्याक्सी किन्न अनुदान दिने । उनीसंँग सवारी चालक अनुमतिपत्र भएकाले राहतको ट्याक्सी खरिद गरेर परिवार पाल्ने योजनासाथ आवेदन गरे । उनीहरूका नाममा सयौं ट्याक्सी नेपाल भित्रिए । सरकारले वितरण गर्ने सूचना पनि प्रकाशित गर्‍यो । त्यो ट्याक्सीबाट आफ्नो परिवार पालिनेमा उनी ढुक्क भए । तर उनी त्यतिबेला छाँगाबाट खसे, जतिबेला उनलाई ट्याक्सी प्राप्त गर्न विभागीय मन्त्रीलाई दलालमार्फत ५ लाख रुपैयाँ बुझाउनुपर्ने माग आयो । तीन छोराछोरी सहित हातमुख जोर्न धौधौ परेका उनका लागि यो माग पूरा गर्नु र आत्महत्या गर्नु बराबर थियो । उनी निराश भएर चुपचाप पछि हटे । भूकम्प पीडितका नाममा आएका ती ट्याक्सीका लागि आवेदन पीडितकै नाममा भरियो, तर ५ लाख घुस दिन असमर्थ उनीहरूको नामका ती ट्याक्सी दलालले कब्जा गरे । ती ट्याक्सी उपत्यकामा गुड्न नदिने भनिएको थियो । सरकार दलालकै कब्जामा पर्‍यो । अहिले सबै ट्याक्सी काठमाडौंमै गुडिरहेका छन्। केशवले त्यसपछि दोलखाको पाखो बारीमा अदुवा खेती गर्ने निधो गरे । दुई लाख ऋण गरेर अदुवा लगाए । अदुवा एकदमै राम्रो फल्यो । अदुवाको प्रत्येक बोटमा उनले आफ्ना छोराछोरीको स्कुल फि र बाआमाको उपचार खर्चका लागि नोट झुन्डिरहेको सपना देखे । तर विडम्बना, त्यो अदुवा गाउँमा बिक्री गर्दा २० रुपयाँ प्रतिकेजी भन्दा दाम नपाइने भयो । त्यसले खर्च नै उठ्दैनथ्यो । उनले सोचे, काठमाडौंमा ल्याएर कालिमाटी तरकारी बजारमा बेच्ने । उनी त्यहाँ पुगे, तर निराश भएर फर्कनुपर्‍यो । कारण थियो, दलालहरूले ल्याएको मात्र त्यहाँ खरिद हुँदोरहेछ । किसानले प्रत्यक्ष ल्याएको तरकारी त्यहाँका पसलेले खरिद गर्दा दलालहरूले आपूर्ति नै बन्द गर्दारहेछन् । दोलखामा दलाललाई प्रतिकेजी २० मा बेचेको अदुवा तिनै केशवले प्रतिकेजी अहिले बजारमा सय रुपैयाँ तिरेर खानुपर्छ ।

दलाली प्रक्रिया र उपभोक्ता
नेपाली बजारको व्यवस्था र नियमनको प्रक्रिया बुझ्न केशवको यो सत्यकथा सानो उदाहरण मात्र हो । लाखौं केशव नेपाली बजारको यो दलाली प्रक्रियाबाट पीडित छन् । सर्लाहीका किसानले प्रतिकिलो १० रुपैयाँमा बेचेको गोलभेँडा काठमाडौंको बजारमा हामी प्रतिकिलो ५० रुपैयाँमा किन्छौं । किसान र उपभोक्ता बीचको दलालले प्रतिकिलो ४० रुपैयाँ मुनाफा लिन्छ । विचरा किसानको हातमा खर्च कटाएर प्रतिकिलो ५ रुपैयाँभन्दा बढी बच्दैन । यो दलाल बजारको अन्त्य कहिले र कसरी गर्ने ? अनि यो दलाली प्रक्रियाबाट नेपाली बजारलाई मुक्त गरेर वास्तविक किसानलाई उत्पादनको मूल्य दिलाउन कुन दल र कुन नेता तयार छन् ? संविधानले परिकल्पना गरेको समाजवादतर्फको यात्रामा यो दलाल पुँजी र प्रक्रिया सबभन्दा बाधक देखिएको छ । तर संविधानमा लेखिएको सपना दल र नेताका लागि शोकेसमा सजाइएको सुनको गहनामात्र हुने खतरा बढ्दैछ । सेवा र वस्तुमा गरिने यो हदसम्मको दलाली प्रक्रियाले घरजग्गा कारोबार, यातायात क्षेत्र, कृषि क्षेत्र, निर्माण व्यवसाय हुँदै अब बौद्धिक व्यवसायको नामले परिचित कानुन व्यवसाय, पत्रकारिता र शैक्षिक क्षेत्रसमेत आक्रान्त भइसकेको छ । मुद्दा किन्ने, मुद्दा मिलाउने कुरा पनि अब दलाल व्यवसायको रूपमा फष्टाउन थालिसक्यो । अझ डरलाग्दो तस्बिर त कहाँ छ भने मुद्दा मिलाउने दलाल भनी नामसमेत सार्वजनिक हुँदासमेत सम्बद्ध निकायले कहिल्यै कारबाही थाल्दैन । राज्यका हरेक अंग दलाली व्यवसायको चक्रव्यूहमा यति नराम्ररी फँसिसकेका छन् कि अब उनीहरू उम्कनै सक्दैनन् र इमानदार कहलिएका त्यहाँ भित्रका पात्रहरूको शिर यसरी निहुरिन थालिसक्यो कि मानांै इमानदार हुनुचाहिँ धर्तीको सबभन्दा ठूलो अपराध हो ।

दलाल पुँजीको रूपान्तरण
यत्रतत्र सर्वत्र फैलिएको यो दलाली पक्रियाले राज्य थिलथिलो र सेवाग्राही वा हामी उपभोक्ता उठ्नै नसक्नेगरी थला पर्ने बेला भइसक्यो । सेवा र वस्तुको विनिमय वा प्रवाहमा देखिएको यो दलाली प्रक्रियाले हाम्रो समग्र अर्थतन्त्रलाई धराशायी बनाउँदैछ । दलाली प्रक्रियाबाट आर्जित दलाल पुँजीले राष्ट्रिय स्वाभिमान र अर्थतन्त्र दुवैलाई दलाल पुँजीपतिहरूको हातमा लैजाँदैछ । यो दलाल पुँजीवादलाई परास्त गरेर स्वाधीन र उद्यमशील पुँजी बजारको निर्माण अबको राष्ट्रिय आवश्यकता हो । जुन पुँजीले पुँजीको पुनर्उत्पादन गर्न सक्दैन, त्यस्तो पुँजीलाई राजनीतिक अर्थशास्त्रमा दलाल पुँजी भनिन्छ । किसानले दुई पैसा बढी पायो भने उसले त्यो पुँजी पुनर्उत्पादनमा खर्च गर्छ । तर दलालले प्राप्त गरेको मुनाफा उसको निजी आर्जनमात्र हुन्छ । यो चक्र चलिरहने प्रक्रियाले औद्योगिक पुँजीको प्रक्रियामा अवरोध सिर्जना गर्छ र नेपाली अर्थतन्त्रलाई निम्छरो बनाइराख्छ । आजको नेपाली अर्थतन्त्रको मुल प्रवृत्ति दलाल पुँजी हो । यो दलाल पुँजीले नेपाली अर्थतन्त्र आक्रान्त भएको छ । किसान, मजदुर र गरिखाने वर्ग चरम शोषणको मारमा परेका छन् । यो दलाल पुँजीको चरित्रलाई बदलेर पुनर्उत्पादन गर्ने उद्यमशील पुँजीमा रूपान्तरण नगर्दासम्म समृद्धिको यात्रा बढ्न सक्दैन। दलाल पुँजीले मूलत: राष्ट्रिय उत्पादनलाई कमजोर बनाउँछ र नेपाली बजारमा विदेशी पुँजीको प्रवाहलाई बेरोकटोक बनाउँछ । माथि उल्लेख गरिए जस्तै केशव दाहाललाई अदुवाको मूल्य प्रतिकिलो २० रुपैयाँभन्दा बढ्ता नदिनुको अर्थ भारतीय अदुवालाई नेपाली बजारमा आमन्त्रण गर्नु हो । त्यसैगरी सर्लाहीको गोलभँेडा उत्पादन गर्ने किसानलाई प्रतिकिलो ५ रुपैयाँभन्दा बढी मुनाफा नदिनु भनेको पनि भारतीय गोलभेँडालाई नेपाली बजारमा खुल्लखुल्ला भित्र्याउनु नै हो। यो चक्रले नेपाली बजार र नेपाली उद्यमीहरू कहिल्यै बढ्न सक्दैनन् । यो दलाली प्रक्रिया रोक्न भनेर बजार अनुगमनको नाममा गरिएका हल्लाखल्ला परिणाममुखी देखिएका छैनन् ।

स्थानीय सरकारको दायित्व
केही महिनाअघि सम्पन्न निर्वाचनबाट निर्वाचित स्थानीय सरकारसँग वस्तु र सेवाको दलाली प्रक्रिया रोक्ने र नेपाली अर्थतन्त्रलाई समृद्धिको यात्रातर्फ लैजाने क्षमता र अधिकार दुवै प्राप्त छ । स्थानीय स्तरमा कृषिमा आधारित सयौ उद्योगको स्थापना गर्ने, किसानहरूबाट उत्पादिन वस्तु आफै खरिद गर्ने वा निजी क्षेत्रसंँगको सहकार्यमा बजार व्यवस्थापन गर्ने वा उनीहरूलाई सहकारीमा आबद्ध गरेर स्वचालित बनाउने जस्ता अधिकार अहिले स्थानीय सरकारलाई प्राप्त छ। जमिनको उत्पादकत्व बढाउन मल, विउ र सिंचाइको प्रबन्ध गर्ने–गराउने अनि कृषियोग्य जमिनलाई प्लटिङ गरेर बिक्री गरी दलाल पुँजीको आर्जन गर्ने कार्यमा तत्काल रोक लगाउने । दैनिक उपभोग्य वस्तुको उत्पादन र आपूर्तिमा उद्यमशील पुँजीको परिचालन गर्ने जस्ता कार्य स्थानीय सरकार आफैले गर्नसक्ने भएकाले स्थानीय सरकाको ध्यान त्यतातर्फ जानु जरुरी छ । संवैधानिक र कानुनी रूपमा मुलुक समाजवादतर्फ उन्मुख हुने दिशामा छ, तर व्यवहारमा दलाल पुँजीले नेपालको अर्थतन्त्रलाई कज्याएर राखेको छ । दलाली प्रक्रिया र दलाल पुँजीवादबाट नेपालको अर्थतन्त्रलाई उद्यमशील पुँजीवाद हँुदै औद्योगिक पुँजीवादमा लैजाने र समाजवादको यात्रातर्फ बढ्न सक्ने पर्याप्त सम्भावना देखिएको छ । दलाल पुँजीवाद र दलाली प्रक्रियाबाट नेपाली अर्थतन्त्रलाई जोगाउँदै समृद्धिको यात्रातर्फ अघि बढ्न अठोट, क्रियाशीलता र प्रतिरोधी भावनाको खाँचो छ ।

विविधा

‘प्रो–एक्टिभ’ कूटनीति आवश्यक

- ज्ञानचन्द्र आचार्य

नेपाल राजनीतिक महत्त्व र रणनीतिक क्षेत्रमा पर्छ । हामी भूगोलको जेलमा झैं छौं । तर निकै सानो र थोरै अर्थतन्त्र भएको मुलुकको रूपमा हामी खुम्चिनु हँुदैन । त्यो सोचबाट मुक्त हुन जरुरी छ । सानो भन्ने भावना गलत हो । ‘छिमेकी मात्र प्राथमिकता’ भन्ने सोचबाट मुक्त हुनुपर्छ । हाम्रा कार्यकारीले पहिला भारत–चीन मात्र भ्रमण गर्ने, अन्यत्र भ्रमण कम हुनुले यसलाई संकेत गर्छ । विश्वमा भू–परिवेष्टित र अल्पविकसित दुवै अवस्थाका मुलुक निकै कम छन् । ती मध्येमा हामी एक हौं । भू–परिवेष्टित भएकै मध्ये पनि हामी दुई सामरिक शक्ति मुलुक बीच छौं । एउटा छिमेकी विश्व शक्तिको खेलाडी र अर्को उदाउँदो शक्तिको रूपमा प्रतिस्पर्धा गरिरहेका छन् । यसर्थ दुवै छिमेकीको आँखामात्र हामीकहाँ पर्दैन । ती दुई छिमेकीलाई हेर्ने अहिलेका र पुराना शक्तिराष्ट्रहरूको आँखा हाम्रोमा परिरहेको छ । त्यो स्वाभाविक हो ।
जसरी उदाउँदो शक्तिले पुराना शक्ति र नयाँ शक्ति मुुलुकलाई हेर्न/घेर्न नजिकका ससाना मुुलुकमा उपस्थिति बढाउने गर्छन्, त्यसको ठिक उल्टो उदाउँदा शक्तिलाई हेर्ने सोच पनि उस्तै छ । जुन अस्वाभाविक होइन । त्यही दुई विन्दुमा रहेर हामीले अध्ययन र विश्लेषण गर्न जरुरी छ । हामी जस्तो भौगोलिक जेलमा रहेको मुलुकले त्यस्तो अध्ययनमा जुट्नु टड्कारो छ । आर्थिक प्रतिस्पर्धासँगै विश्वशक्तिको होडमा रहेका ती मुलुकहरूबीच रहेका हामीले कूटनीतिक दायरा फराकिलो पार्दै आफ्नो हैसियतलाई माथि लैजान सकिन्छ । कुनै पनि मुलुकमा आर्थिक परिवर्तन तत्काल हुँदैन । प्रक्रियागत रूपमै हुन्छन् । मंगोलिया, रुवान्डा, पाराग्वे लगायत केही मुलुकसँग दाँज्दा हामी कमजोर छैनौं । स्वीट्जरल्यान्ड पनि भू–परिवेष्टित मुलुक हो । एक सय पचास वर्षअघि यसको हालत पनि यस्तै थियो । उनीहरूको त्यो इतिहासबाट सिक्न सकिन्छ । हो, उनीहरूको तुलनामा हाम्रो चुनौती निकै जटिल छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार, मानव विकासमा नेपालले धेरै काम गरेको छ । गाउँ–गाउँमा विद्यालय, स्वास्थ्य पहुँच र सचेतना पुगेको छ । यही सूचकांकले हामी अति कम विकसितबाट माथि उठ्दैछौं । यसले मुुलुकमा लगानी भित्र्याउन र विकासको मोडल परिवर्तन गर्न निकै ठूलो काम गर्नेछ । त्यसपछि हाम्रो मुलुक विकासशीलमा परिणत हुन्छ ।

सकारात्मक परिवर्तन
हामी जस्तो आर्थिक हैसियत भएको मुलुकलाई अन्तर्राष्ट्रिय समुदायले सधंै उस्तै चासोमा राख्दैनन् । नेपालको भू–राजनीतिको कारणले हामी चासोमा भने छौं । कहिलेकाहीं हाम्रोमा उनीहरूको ध्यान ह्वात्तै बढ्छ । विश्वका राजनीतिक खेलाडीले हामीलाई ‘न पूर्ण राम्रो नै मान्छन्, नत नराम्रो’ । नेपालमा जुन प्रकारको परिवर्तन भएको छ, यसले विश्वको ध्यान तानेको छ । नेपालको समस्या समाधानबारे उनीहरूको कौतुहलता बढेको देखिन्छ । नेपालले १० वर्षे लामो द्वन्द्व आफैले समाधान गरेर विश्वलाई अचम्मित पारेको छ । प्राप्त गरेको त्यो सफलतालाई हामीले ‘सेल’ गर्नसकेका छैनौं । सरकार छिटोछिटो परिवर्तन भइरहनाले कूटनीतिक, वैदेशिक सहायता परिचालन गर्ने जस्ता संयन्त्र बलियो हुनसकेको छैन । अहिलेको हाम्रो राजनीतिक संरचना हेर्दा अझै हाम्रो परराष्ट्र नीति यही शैलीमा अघि बढ्ने देखिन्छ ।

कमजोर दीर्घकालीन सोच
परराष्ट्र मन्त्रालयमा रहेकाहरूले भू–राजनीति र रणनीति बुझ्दा–बुझ्दै पनि ‘लङ टर्म थिङकिङ’मा कमजोर हँुदै गएको छ । दिगो सोचाइ राख्ने क्षमता कमजोर छ । मन्त्रीहरू छिटोछिटो परिवर्तन भइरहेको छ । मन्त्री परिवर्तन भए पनि सत्तामा रहने दलहरू भने उही/उही छन् । हामीले ‘भिजन’, ‘पोलिसी’ र ‘मोनिटरी’ र ‘अप्सन’ खुला गर्न आवश्यक छ । अर्को समस्या भनेको सबै सम्बन्धका सबै ‘पिलर’ नहेर्नु पनि हो । भारत र चीनसँग मात्र ‘बग डाउन’ हुनुभएन । सबै मुलुकसँग चासो र सम्बन्ध राख्नुपर्छ । भारत र चीनसँगै शक्ति मुलुकको चासो, रेमिटेन्स भित्र्याउने मुलुकहरूसँगको सम्बन्ध, अन्तर्राष्ट्रिय संघ–संगठनको भूमिका खोजी गर्न सक्नुपर्छ । तेस्रो मुलुकसँगको व्यापार र लगानीमा जोड दिनुपर्नेमा हामी छिमेकमा मात्रै अलमलिएका छौं । समय–समयमा काम कति भएको छ, त्यसको मूल्यांकनसहित कमजोरी सल्टाउँदै बढ्न सक्नुपर्छ । विज्ञहरूले पनि आस र त्रासमा वा कतै ढल्केर होइन कि यथार्थ अध्ययन गरी सुुझाउन सक्नुपर्छ ।
हामी बढी ‘रियाक्टिभ’ भएका छौं । नेपाल जस्तो मुलुकले ‘प्रो–एक्टिभ’ कूटनीतिमा सक्रिय हुनु आवश्यक छ । परराष्ट्र मन्त्रालय अन्तर्गत कुनै थिंकट्यांक स्थापना गर्ने र लामो कोर्सको घोडाझैं बढ्न आवश्यक छ । नेपाल जस्तो मुलुकले कूटनीतिक रूपमा अब्बल क्षमता देखाउने नै हो । त्यसका लागि दैनिक पत्राचारले मात्र पर्याप्त हुँदैन । त्यस निम्ति प्रभावकारी ‘थिंकट्यांक’ चाहिन्छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । बहुपक्षीय सरोकारवालाहरूसँग समन्वय गरेर अघि बढ्नुपर्छ ।

हामी कहाँ छांै ?
भारत र चीनबीच सिमाना विवाद छँदैछ । त्योसँगै उनीहरूबीच प्रतिस्पर्धा पनि उत्तिकै छ । उनीहरूबीच सीमामा द्वन्द्व देखिएको छ । यो कुनै नौलो कुरा होइन । अहिल्यै उनीहरूबीच युद्ध हुने अवस्था पनि छैन । यी दुई छिमेकी धेरै मिल्दा र धेरै द्वन्द्व गर्दा दुवै हाम्रालागि हितकर हुँदैन । दुवै शक्ति मुलुक रहेका कारण द्वन्द्व हुनु स्वाभाविक हो । तिब्बत पश्चिमाको ‘सफ्ट बेली’ हो । उदाउँदो शक्तिको चियो सबैले गर्छ । उदाउँदाले जसरी शक्ति मुलुकको चियो गर्छन्, छेउछाउमा लगानी गर्छन्, त्यो पारा सबैको हुन्छ । यस्तो अवस्थामा शक्ति संघर्ष अर्थात् ‘पावर टसल’ पनि हुन्छ । ‘पावर ब्यालेन्स’ सधंै हँुदैन, ‘विन–विन’ भन्ने विषय खेर गइरहेको हुन्छ ।
नेपालमा पश्चिमा चासो पहिले देखिकै हो । हामीले नचाहिँदो ढंगले कसैको बीचमा नपरी उनीहरूबाट आफूलाई फाइदा हुने कुरा लिनेमात्र हो । मुलुकलाई फाइदा नहुने अवस्थामा ‘नो’ भन्न सक्ने क्षमता हामीमा हुनुपर्छ । अझ कूटनीतिक ‘डिल’ गर्ने निकायमा त्यस्तो रणनीति हुनुपर्छ । आफूलाई फाइदा नहुने हो भने त्यस्तो सहयोग के काम ?
संविधानमा उल्लेख गरे अनुरुपको परिपक्वता राजनीतिक दलहरूको परराष्ट्र नीतिमा देखिँंदैन । जनदबाबका कारण अलिअलि एकरूपता आउन सुरु हुन्छ । अनि फेरि त्यो त्यसै हराएर जान्छ । कुनै पनि मुलुकको परराष्ट्र नीति दल वा व्यक्तिको हुँदैन, हुनु पनि हँुदैन । दलहरू बीच परराष्ट्र नीति हेर्ने संयन्त्र बलियो बनाउने र छलफल गर्ने संयन्त्र बनाउनुपर्छ । दलहरू बीच परराष्ट्र मामिलामा ‘इस्टिच्युसनल मेकानिजम’ चाहिन्छ । परराष्ट्र मामिलामा प्रतिपक्ष हुँदैन । चित्त नबुझ्दा भित्र छलफल गर्ने, तर बाहिर हल्ला गर्नु हँुदैन । कूटनीतिमा त्यो परिपक्वता आवश्यक हुन्छ । हाम्रो सन्दर्भमा अन्तर्राष्ट्रिय सम्बन्धका ठूलठूला विषयमा गहन छलफल भएकै छैन । भ्रमण, सीमाको समस्या समाधान नियमित विषय हुन् । यी बाहेक दीर्घकालीन हितका अन्य विषयमा गम्भीरतापूर्वक सोच्ने, छलफल गर्ने र मुलुकले एउटै आवाज निकाल्नु नै परिपक्व परराष्ट्र नीति हो ।
संयुक्त राष्ट्रसंघका निवर्तमान उपमहासचिव आचार्यसँग चन्द्रशेखर अधिकारीले गरेको कुराकानीमा आधारित ।

विविधा

बाढी, स्वास्थ्य र सरकार

- डा. अरुणा उप्रेती

१० वर्षअघि म एक अन्तर्राष्ट्रिय संस्थासँग भारतमा जनस्वास्थ्य विशेषज्ञ भएर काम गर्दा विहार र आसाममा ठूलो बाढी गयो । विहारमा सुख्खा जमिन कतै थिएन । बाढीले जनता त्राहिमाम भएका थिए । त्यो बेला तत्कालीन मुख्ममन्त्रीले जनतासँग मजाक गरेका थिए, ‘तिमीहरूले गंगा नदीको दर्शन गर्न कति यात्रा गर्नुपर्छ, अहिले त गंगा मैया तिमीहरूको घर–घरमा आइपुगेकी छन् । आनन्दसँग दर्शन गर ।’ यो भद्दा मजाकले जनताको दिल दुखाएको थियो ।
विहार र आसाममा आएको बाढीले धेरैको स्वास्थ्यमा समस्या पैदा गरेको थियो । कतिपय ठाउँमा जनताले घरभित्र पानी भएर सडक किनारमै बस्नुपरेको थियो । थुप्रै सामाजिक संस्थाले बाटोमै खिचडी बनाएर खुवाएका थिए । कसैलाई पनि चाउचाउ खुवाइएको थिएन । बाढी पछिको जनस्वास्थ्यको अवस्था त बडो भयावह थियो । सबैभन्दा दयनीय स्थिति त गर्भवती, सुत्केरी, उनीहरूका शिशु, किशोरी र वृद्धवृद्धाको थियो । नेपालमा अहिलेको बाढीले मलाई त्यही बेलाको हालत याद दिलाएको छ । भूकम्पका बेला नेपालमा पनि गर्भवती, सुत्केरी र किशोरीहरूको हालत सबभन्दा बढी खराब थियो । कुनै पनि प्राकृतिक प्रकोपमा प्राय: यस्तै हुन्छ । किनभने शारीरिक रूपमा समाजको यो तप्का कमजोर नै हुन्छ र प्रकोपको बेला त यिनलाई झन् गाह्रो हुन्छ । यस्तो बेला सुत्केरी र नवजात शिशुलाई धेरै सुती कपडा चाहिन्छ । अहिले धेरै संघ–संस्थाले बाढी पीडितका लागि कपडा, भोजन र औषधी जम्मा गरिरहेका छन् । लुगा सुकाउने ठाउँ पनि नभएको र घाम पनि नलागेका बेला नवजात शिशुलाई सुख्खा कपडाले लपेटिएन भने निमोनिया भएर मृत्यु हुनसक्छ । सुत्केरी आमालाई पनि सुख्खा र ताता कपडा चाहिन्छ । त्यसैले धेरै संस्थाले कपडा जोहो गर्न लागेका छन् । तर लुगा तराईका मानिसले लगाउने खालका हुनुपर्छ । चिसो र संक्रमणले सुत्केरी महिलामा प्रजनन स्वास्थ्यको समस्या देखापर्न सक्छ । चिसोले जीउ र पेट फुल्ने समस्या वा मृत्यु नै हुने अवस्था आउन सक्छ । यस्ता महिला र शिशुलाई सुख्खा ठाउँमा तत्कालै राख्ने व्यवस्था हुनुपर्छ । सुख्खा ठाउँ र न्यानो लुगासँगै अर्काे महत्त्वपूर्ण कुरा हो, भोजन । नेपालमा भूकम्प र बाढी आउने बित्तिकै चाउचाउ बाँड्न सुरु गरिन्छ । यस्तो बेला कसैले पनि चिउरा र सातु बाँड्नुपर्छ भनेर सोच्ने गर्दैनन् । चाउचाउको प्रयोगले सामान्य अवस्थामा त कुपोषण गराउँछ भने यस्तो बेला त झनै समस्या ल्याउँछ । अरू केही पाइएन भने दाल, चामल, पानी, बेसार र नुन हाली खिचडी पकाएर ख्वाइयो भने बाढी पीडितको स्वास्थ्य राम्रो हुन्छ । चिसोको बेला मानिसलाई तातो खानाले शारीरिक र मानसिक रूपमा पनि आनन्दको अनुभूति गराउँछ । तातो चिया, तातो दूध, तातो सुप वितरण गर्न त्यति गाह्रो पनि होइन । सामान्य अवस्थामा पनि धेरै थाकेको बेला, लामो यात्रापछि एकमुठी तातो दाल, भात, जाउलो पेटमा पर्दा हामीलाई अलि सहज मसहुस हुन्छ भने झन् बाढीले पीडित भएका बेला तातो भोजन कति महत्त्वपूर्ण हुन्छ होला, सहजै अनुमान गर्न सकिन्छ ।कति जनाले भन्न सक्छन्, बाढीले वितण्डा मच्चाएका बेला केको तातो खानाको कुरा गरेको होला । तर बाढीको बेला तातो खानाले आनन्दको अनुभूति गराउने मात्र होइन, रोगसँग लड्ने शक्ति पनि बढाउँछ । बाढी पीडितलाई आइपर्ने समस्या शौचालयको अभाव पनि हो । सामान्यत: शौचालय नहुने तराईमा झन् बाढीको अवस्थामा के हालत होला ? यस्तो बेला जताबाट भए पनि सफा पानीको व्यवस्था गर्नैपर्छ । सफा पानीको अभावमा झाडापखाला, आउँ, जरो, टाइफाइड, छालाका विभिन्न रोग पैदा हुन्छन् । पहिलेदेखि नै रोगसँग लड्ने शक्ति कम भएकाहरूलाई यस्तो समस्याले झन् बढी सताउँछ । गर्भवती महिलालाई यस्तो समस्याले अवस्था गम्भीर बनाउन सक्छ । बाढीको प्रकोपले महिलाहरूको प्रजनन समस्यालाई झन् कठिन बनाइदिन्छ । भित्री लुगाको अभाव र महिनावारी व्यवस्थापनको समस्याले किशोरी र सुत्केरीको प्रजनन स्वास्थमा असर पर्छ । लज्जाका कारण किशोरीहरू आफ्नो समस्या पोख्न सक्दैनन् । यसले उनीहरूको प्रजनन स्वास्थ्यमा दीर्घ समस्या पार्छ । ४–५ महिनाका गर्भवती महिलाको तनाव, चोटपटकका कारण गर्भपतन हुनसक्छ । यस्तो अवस्थामा सुख्खा लुगा र जमिनसँग शरीर न्यानो पार्ने व्यवस्था नभएर मानसिक रूपमा दु:खी भएका महिला शारीरिक रूपमा पनि अशक्त हुन सक्छन् र डिप्रेसन पनि हुनसक्छ । बाढीका बेला घरबार र आफन्त गुमाएको पीडामा औषधी, खाना र तातो ठाउँको व्यवस्थाले मलमको काम गर्न सक्छ । सरकारले सबैले एकद्वार प्रणालीबाट बाढी पीडितलाई राहत बाँड्न उर्दी गरेको छ । म त जम्मा गरेको लुगा, पैसा, चिउरा सरकारको कुनै पनि निकायमा दिने छैन, तराईमा रहेका आफ्ना साथीको माध्यमबाट समुदायमा बाँड्नेछु । यसो गर्दा सरकारले नीति विपरीत भयो भनेर मलाई कारबाही गर्ला ?

विविधा

विपद् व्यवस्थापनका कमजोरी

- डा. दीपक चम्लागाईं

केही दिन मुसलधारे वर्षा हुँदा तराई बाढी–डुबान र पहाड पहिरोको चपेटाबाट गुज्रिनुपरेको छ । गृह मन्त्रालयका अनुसार बाढी–डुबान तथा पहिरोको कारण कम्तीमा १ सय २३ जनाले ज्यान गुमाएका छन् । २ हजार ८ सय ४७ घर पूर्ण क्षति भएका छन् । यो विपद्को प्रमुख कारण ढिलो सुरु भई ठाउँ विशेषमा अति सक्रिय भएको मनसुन प्रणालीलाई मौसमविद्हरू देखाउँछन् । मनसुन प्रणाली प्राकृतिक प्रक्रिया हो । तर यस प्रणालीको तीव्रता, मान एवं अवधिमा भइरहेको परिवर्तनलाई जलवायु परिवर्तनसँग जोडेर वैज्ञानिकहरूले हिमालयजस्तो कमजोर भौगर्भिक बनोट भएको क्षेत्रमा बाढी, पहिरोजस्ता विपद्को चेतावनी दिइरहेका छन् । यसर्थ हाम्रोजस्तो भू–खण्डमा जलवायुजन्य प्रकोपको जोखिम स्वाभाविक हो । तर यी प्रक्रियाले उत्पन्न गर्नसक्ने विपद्को जोखिम न्यूनीकरणतर्फ पूर्वतयारी गर्न नसक्नु सरकार एवं समुदायको कमजोरी हो । कमजोर भू–खण्ड, द्रुततर गतिमा भइरहेको जलवायु परिवर्तन एवं परिवर्तित मनसुन प्रणालीका कारण उच्च हिमालयदेखि तराईसम्मका क्षेत्रहरू विपद्को उच्च जोखिममा रहेको तथ्यलाई आजभोलि घटिरहेका विपद्का घटनाले प्रमाणित गरिरहेका छन् । पहाडी क्षेत्रमा हुने अतिवृष्टि, कमजोर भौगर्भिक बनोट एवं अव्यवस्थित विकास निर्माण कार्यले पहिरोको जोखिम वर्षैपिच्छे वृद्धि भइरहेको छ । भौगर्भिक हिसाबले अति संवेदनशील चुरे भू–खण्ड र यस क्षेत्र भएर बग्ने नदीनाला भू–माफियाको उच्च दोहनमा परेको छ । अत्यधिक दोहनका कारण वर्षातको समयमा यस क्षेत्रका नदीहरूको सतहमा परिवर्तन हुन गएर धार परिवर्तन गरी उच्च मात्रामा बालुवा, गिटी एवं माटो बगाउँदा बाढीको रूप लिन्छ । प्रकोपहरू प्राकृतिक प्रक्रिया हुन् । तर प्रकोपले विपद्को रूप लिनु भनेको मानवीय दुश्चरित्रको उपज हो । तसर्थ मुलुकले प्रकोप तथा तिनले उत्पन्न गर्नसक्ने विपद्को विस्तृत अध्ययन गरी नीति निर्माण एवं कार्ययोजना तयार गरी लागू गर्न नसक्नु सरकारको कमजोरी हो । राजनीतिक दलहरूमा विपद् व्यवस्थापन सम्बन्धी न्यूनतम ज्ञान एवं दृष्टिकोण नहुनु दुर्भाग्य सिद्ध भएको छ ।

विपद् व्यवस्थापन ऐन
विपद् व्यवस्थापन ऐन ‘दैवी प्रकोप (उद्धार) ऐन–२०३९’ तर्जुमा गरी लागू गर्ने नेपाल सम्भवत: दक्षिण एसियाको पहिलो मुलुक हो । यस ऐनले मुख्यतया दैवी प्रकोप (विपद्) पीडित जनतालाई उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गरेको छ। साथै केन्द्र, क्षेत्र, जिल्ला एवं स्थानीय तहमा समितिमा आधारित विपद् उद्धारको संस्थागत व्यवस्था पनि गरेको छ । तर विपद् व्यवस्थापनका विभिन्न चरणहरू (पूर्वतयारी, प्रतिकार्य एवं न्यूनीकरण) लाई नसमेटेकाले ऐन सक्रियात्मकभन्दा पनि प्रतिक्रियात्मक पाइन्छ । ऐनले गरेको व्यवस्था अनुसार राज्यले विपद् पीडितहरूलाई खोज, उद्धार एवं राहत कार्यमा विशेष जोड दिए पनि वैज्ञानिक संस्थागत संरचना, विपद् पूर्वतयारी, अध्ययन–अनुसन्धान तथा सक्रियात्मक नीति नियम बनाउने सम्बन्धमा मौन रहनुले एवं विकासमा विपद् जोखिम न्यूनीकरणलाई मूलप्रवाहीकरण गर्न नसक्नाले मुलुकले वर्षैपिच्छे विपद्को ठूलो क्षति भोग्दै आएको छ । यस ऐनलाई प्रतिस्थापन गर्न नयाँ विपद् व्यवस्थापन ऐनको मस्यौदा तयार गरी छलफल हुनलागेको पनि एक दशक नाघिसक्यो । २०७२ को भूकम्प पश्चात् ऐन पारित गर्न सरकारले प्रतिबद्धता जनाए पनि सरकार, राजनीतिक दल एवं सिंगो व्यवस्थापिका संसद मौन रहनुले राज्य जनताप्रति कति अनुदार छ भन्ने तथ्य प्रस्ट पारेको छ ।

नीति, नियम एवं भवन निर्माण संहिता
नेपालले अन्तर्राष्ट्रिय स्तरमा तयार भएका विपद् व्यवस्थापनका कार्य ढाँचालाई अनुमोदन गर्दै आएको छ । संयुक्त राष्ट्र संघले अनुमोदन गरेका ह्योगो कार्य संरचना सन् २००५–२०१५ तथा तत्पश्चातको सेन्दाई कार्य संरचना सन् २०१५–२०३० ले निर्दिष्ट गरेका मूल लक्ष्यहरूलाई समेटी समयमै कार्ययोजना तयार गरी लागू गर्न नसक्दा स्वयं सरकारी निकाय तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग पुर्‍याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू पनि अलमलमा रहेको देखिन्छ । अव्यवस्थित भू–उपयोग विधि नै हाम्रो मुलुकमा विपद्को एक प्रमुख कारण बन्न पुगेको छ । सरकारले विसं २०६९ मा भू–उपयोग नीति लागू गरे पनि कार्यान्वयन पक्ष फितलो रहेकाले सरकारी भूमि हडप्ने, जग्गा प्लटिङका नाममा जथाभावी भूमिको खण्डीकरण गर्ने तथा अव्यवस्थित सहरीकरण गर्ने कार्य द्रुतगतिमा बढेको र्पान्छ । सहरी क्षेत्रमा नदीको प्राकृतिक बहाव क्षेत्रलाई हडपेर साँघुरो पारिएकाले सहरी बाढीको प्रकोप पनि बढ्दै गएको छ । उक्त नीतिले विपद् जोखिम संवेदनशील भू–उपयोग नीतिको मूल मर्मलाई समेट्न नसकेकाले उर्वर भूमिको खण्डीकरण भई विपद् जोखिम बढ्नुका साथै कृषिमा आधारित हाम्रो अर्थतन्त्रलाई ठूलो असर गरेको छ । स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन गर्न बनेका योजना तथा जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण एवं व्यवस्थापन गर्न तयार पारिएको स्थानीय अनुकूलन कार्ययोजना बीचको अस्पष्टता एवं कमजोर कार्यान्वयनका कारण पनि विपद् व्यवस्थापनमा अपेक्षाकृत प्रगति हुनसकेको छैन । विश्वव्यापी जलवायु परिवर्तनको अन्तिम परिणाम पनि विपद् नै भएकाले केन्द्रदेखि स्थानीय स्तरमा यी दुवै क्षेत्रलाई समेटी एकीकृत निर्देशिका निर्माण गरेर कार्यान्वयन गर्न ढिलाइ गर्नु एउटा मुख्य कमजोरी रहेको छ । विपद्का प्रकृति अनुसार अनुसन्धानमा आधारित भवन निर्माण संहिता तयार गरी लागू गर्न नसक्नु अर्को मुख्य कमजोरी पाइन्छ ।

संस्थागत संरचना
दैवी प्रकोप (उद्धार) ऐन–२०३९ चौथो संशोधनसम्म आइपुग्दा पनि विपद् व्यवस्थापन कार्यका लागि विशेष संस्थागत संरचना व्यवस्था गर्न नसक्नु बडो दु:खद पक्ष हो । ऐनले केन्द्रदेखि स्थानीय तहसम्म सम्बन्धित तहको प्रमुखको नेतृत्वमा समितिमा आधारित संरचनाको व्यवस्था गरेको पाइन्छ । जिल्ला तहमा विपद् व्यवस्थापन कार्यका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला दैवी प्रकोप उद्धार समिति छ । अन्य धेरै समितिको पनि अध्यक्ष रही कार्य गर्नुपर्ने भएकोले विपद् व्यवस्थापन कार्य प्रमुख जिल्ला अधिकारीलाई अतिरिक्त कार्यभार जस्तो देखिन्छ ।

अध्ययन–अनुसन्धान
वैज्ञानिक अध्ययन–अनुसन्धानले प्रकोपको अवस्थिति, कारक तत्त्व, तीव्रता एवं न्यूनीकरणका उपायहरूलाई सुझाउने गर्छन् । तर विडम्बना, हाम्रो मुलुकमा राज्यका तर्फबाट अध्ययन–अनुसन्धानमा लगानी हुनसकेको छैन । मुलुकमा प्राकृतिक प्रकोप सम्बन्धी भए–गरेका अध्ययन–अनुसन्धान सरकारी तथा गैर–सरकारी संस्थाको खासै चासोको विषय पनि बन्दैनन् । साथै राज्यले बनाउने नीति तथा कार्ययोजनामा वैज्ञानिक अध्ययन–अनुसन्धानले खासै स्थान पाउँदैनन् । समग्रमा भन्ने हो भने वैज्ञानिक अध्ययन–अनुसन्धानका मूलभूत निष्कर्षलाई नीति तथा योजनामा मूलप्रवाहीकरण गरिँदैन । विपद् व्यवस्थापन क्षेत्रमा कार्य गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाले पनि प्रकोपको मूल्यांकन एवं विज्ञान तथा प्रविधिलाई आफ्ना कार्ययोजनामा मूलप्रवाहीकरण नगरी कतै हचुवाको भरमा त कतै राजनीतिक दलहरूको दुष्प्रभावमा परी फितला योजना कार्यान्वयन गरेको पाइन्छ । फलस्वरुप राज्य तथा गैर–सरकारी संस्थाहरूले विपद् जोखिम न्यूनीकरण क्षेत्रमा खर्च गरेको अर्बौं रकम बालुवामा पानीसरह बनेको छ । संसारमा विश्वविद्यालय नै मुलुकलाई आवश्यक पर्ने आधुनिक अनुसन्धानको केन्द्र हो । तर विडम्बना, हाम्रो मुलुकमा विश्वविद्यालयहरू आर्थिक तथा भौतिक स्रोतको चरम अभावमा छन् ।

भौतिक एवं प्राविधिक क्षमता
नेपाल विपद् जोखिम दृष्टिकोणले विश्वमै उच्च स्थानमा रहे पनि प्रकोपहरूको मापन एवं मूल्यांकन क्षमता भने ज्यादै कमजोर छ । भनिन्छ, विपद् एउटा अवसर पनि हो । विपद्का अवसरलाई सदुपयोग गर्नसके मुलुकले विपद् व्यवस्थापनमा लामो छलाङ पनि मार्न सक्छ । हाम्रो जस्तो भूकम्पीय प्रकोपयुक्त मुलुकको भौतिक एवं प्राविधिक क्षमता अत्यन्तै न्यून छ । भौतिक एवं प्राविधिक अभावमा पनि जल तथा मौसम विभागले तीन दिन अगाडिसम्मको मौसम अनुमान गर्नु र केही नदीमा बाढी पूर्वसूचना प्रणाली जडान गरी समुदायलाई सूचित गर्नु कदरयोग्य कार्य मान्नुपर्छ ।

अबको बाटो
राजनीतिक दलहरूलाई जनताको जीवनप्रति उत्तरदायी बनाउँदै विपद् व्यवस्थापनका बृहत्तर पक्षहरूमा साक्षर बनाउनु सबैभन्दा ठूलो आवश्यकता र चुनौती हो । उच्च राजनीतिक प्रतिबद्धता निर्माण गरी विचाराधीन विपद् व्यवस्थापन विधेयक तुरुन्त पारित गर्नसके मात्र पनि केन्द्रदेखि स्थानीय स्तरसम्म स्वत: स्थायी संस्थागत संरचना निर्माण हुनसक्थ्यो र तह अनुसारको विपद् व्यवस्थापन क्षमता विकास गरी विपद् उत्थानशीलतातर्फ पहल गर्न सकिन्थ्यो । विभिन्न प्रकोपको मूल्यांकन एवं व्यवस्थापन सम्बन्धमा प्रत्यक्ष योगदान गर्नसक्ने जनशक्ति (भूगर्भविद्, मौसमविद्, विपद् व्यवस्थापन विज्ञ आदि) लाई उच्च प्रविधियुक्त बनाई कम्तीमा जिल्ला स्तरदेखि नै सहभागी गराउनसके विपद् व्यवस्थापनले फड्को मार्न सक्थ्यो । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.चम्लागार्इं अमेरिकाको युनिभर्सिटी अफ नेभाडामा अनुसन्धानरत छन् ।

Page 8
देश

बालबालिकालाई एसओएसको साथ

इटहरी (कास)– बाढीले घरसहित बाबु–आमालाई बगाएपछि बेसहारा भएका इटहरी–४ गैरीगाउँका दिदीभाइले सहारा पाएका छन्। १५ वर्षीया कमला राई र ११ वर्षीय निशानलाई इटहरीस्थित एसओएस बालग्रामले उच्च शिक्षासम्म नि:शुल्क अध्ययन गराउने गरी बिहीबार जिम्मा लिएको छ ।एसओएसका सहायक निर्देशक देवचरण चौधरीले बालबालिकाको अभिभावकत्व एसओएसले निर्वाह गर्ने बताए । उनले दुवै बालबालिकालाई क्षमताका आधारमा उच्च शिक्षासम्म अध्ययन र धर्म संस्कृतिअनुसार विवाहसमेत गरिदिने प्रतिबद्धता व्यक्त गरे। जिल्ला बालकल्याण समिति र उप्का नेपालको रोहबरमा इटहरी उपमहानगरपालिका–४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले लिखित रूपमा बालबालिका हस्तान्तरण गरे । साताअघि बूढी खोलामा आएको बाढीले निशान र कमला बगेका थिए । उनीहरू रूखमा झुन्डिएर बाँचे पनि आमा आशा र बाबु राजकुमार तथा भाइ निमेषलाई बाढीले बगाएको थियो । आमा आशाको शव तीन दिनपछि फेला परे पनि भाइ र बाबु भने बेपत्ता छन् ।
घरबार र बाबुआमाविहीन दिदी–भाइलाई सानी आमा सीतासंन्ध्या राईले संरक्षण दिइरहेकी थिइन् । दुवैको भविष्यलाई लिएर चिन्ता लागिरहेको अवस्थामा एसओएस बालग्रामले घरमै आएर अभिभावकत्व ग्रहण गर्दा आफूलाई खुसी लागेको उनले बताइन्। यस्तै श्रीमती माला र छोरी स्विटी साहको किरिया बसिरहेका लालु साहलाई किरिया बसेको १३ औं दिन संस्कारअनुसार मलामीलाई भोज खुवाउन खर्च अभाव भएपछि उद्योग वाणिज्य संघ इटहरीका पूर्वअध्यक्ष रोहित प्रसाईंले १० हजार नगद सहयोग गरेका छन् । घरभित्र ७ फिटसम्म बाढी पसेपछि साहले छानामा चढेर श्रीमती र छोरीलाई तान्दा दुवै हातबाट छुटेर भलमा डुबेका थिए ।

देश

बिथोलियो वन्यजन्तुको बासस्थान

- विमल खतिवडा
अविरल वर्षासँगै झापाको रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रभित्र ढलेका मसलाका रूखहरू ।तस्बिर : अर्जुन राजवंशी/कान्तिपुर

 

  • बगेर दुई गैंडा भारत पुगे
  • एउटा गैंडा, रतुवा र ५ वटा चित्तल मरे
  • बाढी नघटेकाले उद्धारमा ढिलाइ

चितवन– अविरल वर्षासँगै आएको बाढीले चितवन निकुञ्जमा रहेका ५ वटा गैंडा बगाएको छ । २ वटा बगेर भारत पुगेका हुन्। ३ वटा निकुञ्जअन्तर्गतकै नवलपरासी क्षेत्रमा पुगेको निकुञ्जले जनाएको छ ।बाढीले बगाउँदा एउटा गैंडा, एउटा रतुवा र ५ वटा चित्तल मरेका छन् । जिल्ला वन नवलपरासीको कार्यक्षेत्रमा पर्ने गण्डक नहरको १४ र १५ नम्बर ठोकरमा करिब तीन वर्षको भाले गैंडा मृत फेला परेको छ । तीनवटा गैंडा बगेर नवलपरासीको नर्सही, त्रिवेणी मध्यवर्ती सामुदायिक वन र वाल्मीकि आश्रममा पुगेका छन् । ‘वाल्मीकि आश्रममा रहेको गैंडा घरी भारतको वाल्मीकि नगर त घरी नेपाल आउने गरेको छ,’ उद्धारका लागि त्यहाँ पुगेका निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने, ‘२ वटा गैंडा भने भारतमै छन् ।’ ती दुई वाल्मीकि नगर र दक्षिणपूर्वी क्षेत्र बगाहमा पुगेका हुन् । बगाहमा पुगेका गैंडा नदीमा बग्दै बस्ती नजिक पुगेका छन् । त्यहाँस्थित उखुबारीमा बसिरहेका छन् । त्यहाँ जंगल छैन । ‘हाम्रो पहिलो प्राथमिकता यहीं गैंडाको उद्धार गर्ने हो,’ उनले भने, ‘उद्धार गर्न नसकिए स्थानीय र गैंडा दुवैलाई खतरा हुनेछ, बिहीबार साँझसम्म उद्धार गर्ने तयारीमा छौं ।’ वाल्मीकिमा भएका गैंडालाई उद्धार गर्न कठिनाइ भएको छ । नदीछेउमा पानी जमेकाले डार्ट गर्न समस्या हुने उनले बताए । गैंडा भारत पुगेकोबारे वाल्मीकि टाइगर रिजर्भका फिल्ड डाइरेक्टरले जानकारी गराएका थिए । अर्याल मंगलबार उद्धारका लागि पुगेका हुन् । ‘राप्तीको बाढी गोलाघाटबाट नारायणीमा मिसिन्छ,’ उनले भने, ‘तर नारायणीमा ठूलो बाढी देखिएको थिएन, राप्तीले बगाएर पुर्‍याएको हुन सक्छ ।’उनले प्राविधिक टोलीसहित ३ वटा हात्ती परिचालन गरेर उद्धार गरिने बताए । बाढीले वन्यजन्तु बढी प्रभावित बनेका छन् । बासस्थानमा बाढी पसेको छ । नदी किनार छेउमा रहेका गैंडा, चित्तल र रतुवा बगेका हुन् । गैंडाको उद्धारमा ४० भन्दा बढी कर्मचारी खटिएका छन् । ‘वन्यजन्तुहरू प्राय: नदी तटीय क्षेत्रमा बस्न रुचाउँछन्, त्यहाँ घाँसे मैदान हुन्छ,’ संरक्षणकर्मी वासु ढुंगानाले भने, ‘बासस्थान बाढीले डुबाउँदा भाग्न सक्दैनन्, त्यस्तो ठाउँमा साना/साना माटाका ढिस्का बनाएर सुरक्षित बासस्थानको व्यवस्था गर्नुपर्छ ।’

 

१५ पोस्ट डुबान
निकुञ्ज सुरक्षार्थ निर्माण गरिएका १५ वटा पोस्टमा पानी पसेको छ । रिउ र खहरेखोलामा आएको बाढीले बगईस्थित माडी सेक्टर कार्यालय बगाएको छ । सुखीभार क्षेत्रमा राप्तीको बाढी पसेको छ । जुन सबैभन्दा बढी गैंडाको बासस्थान रहेको ठाउँ हो । ‘बाढी पसे पनि ठूलो क्षति भएको छैन,’ अर्यालले भने, ‘नदीछेउमा चरणमा रहेका गैंडा बगे पनि अरू सुरक्षित छन् ।’ उनले कसरा प्रवेश गर्ने राप्ती पुल छेउमा गैंडाको पाइला देखिएकाले बगेर आएका गैंडा सुरक्षित ठाउँमा गएको हुन सक्ने बताए । निकुञ्जमा ६ सय ५ गैंडा छन् । उनले भारतको सीमापार संरक्षण अवधारणाले गैंडाको उद्धारमा राम्रो सहयोग गरेको बताए ।

बाढीले १८ कृष्णसार बगायो
गुलरिया– बबई नदीमा आएको बाढीका कारण दुर्लभ वन्यजन्तु कृष्णसार बगेका छन् । गुलरिया नगरपालिका २ खैरापुर क्षेत्रमा रहेका १८ कृष्णसार बाढीमा बगेका हुन् । कृष्णसार बगाउँदै भारतीय जंगलमा पुर्‍याएको संरक्षणकर्मीले बताए ।संरक्षण अधिकृत पुरुषोत्तम शर्माले पण्डितपुर हुँदै १८ कृष्णसार बगेको पुष्टि गरे । साउन २९ गतेको बाढीले बगाएका कृष्णसारको खोजी भए पनि फेला नपरेको उनले जनाए । ०७१ साल साउन ३० गते आएको भीषण बाढीमा परी ४० कृष्णसार बगेका थिए । बर्दियामा अहिले २ सय ३६ कृष्णसार छन् । बाढीले बगाएका दुई भाले कृष्णसार मृत अवस्थामा फेला परेको र अन्यबारे विस्तृत विवरण तयार नभएको संरक्षण अधिकृत शर्माले बताए ।बाढीबाट जोगाउन तीन हेक्टर क्षेत्रफलमा तीन वर्षअघि माटो पटान गरिएको थियो । डेढ/डेढ हेक्टरका दुई स्थानमा जमिनबाट तीन मिटर अग्लो बनाई ४७ लाख ५० हजारको लागतमा माटो पटान गरिएको खैरापुर संरक्षण क्षेत्रले जनाएको छ ।

देश

आफन्तको घरमा काजकिरिया

सहरेडाँगी (झापा) (कास)– झापा गाउँपालिका–३ सिमलबारीका टेकबहादुर दर्नाल दोहोरो पीडामा छन् । गत शुक्रबार राति कन्काई नदीमा आएको बाढीले ३५ वर्षीया श्रीमती कमला र ३ वर्षकी छोरी खुसीलाई बगायो । आमा–छोरीसँगै बग्यो घर पनि ।
बाढीले घरै बगाएपछि टेकबहादुरले श्रीमती र छोरीको काजकिरिया घरमा गर्न पाएनन् । त्यसैले झापा मेचीनगर–१२ खहरेडाँगीस्थित आफन्त (शरमान बराइली) को घरमा काजकिरिया गरिरहेका छन् । ‘घर बगाउँदा केही थिएन, तर श्रीमती र छोरी नै बगाउँदा पीडा सहनै गाह्रो भइरहेको छ,’ आइतबारदेखि श्रीमती र नाबालिका छोरीको किरियामा बसेका टेकबहादुर भक्कानिए, ‘यस्तो पीडा कसैले भोग्नु नपरोस् ।’ गत शुक्रबार राति घनघोर वर्षा हुँदा टेकबहादुर श्रीमती र सानी छोरीसँगै थिए ।मध्यराति कन्काईको बाढी गाउँ पसेपछि परिवारका तीनै जना ज्यान जोगाउन उठे । छिमेकमा कसैले सुन्ला कि भनेर गुहार मागे। तर, उनीहरूको क्रन्दन कसैले सुनेन । ‘श्रीमतीले घर छेउको गोठमा बाँधेको गोरु फुकाएर आउनु पर्खिएर बस्छु भनेकी थिइन्,’ टेकबहादुरले घटनाको बेलीविस्तार लगाए, ‘गोरु फुकाएर आउँदा न श्रीमती थिइन्, न छोरी नै ।’टेकबहादुर गोरु फुकाउन गएकै बेला कन्काईको भेल घरमा पसेछ । अनि आमा–छोरीलाई बगाएछ । मध्यरातमा बगाएका आमा–छोरीलाई खोजिहेरे, तर भेटिनँ। ‘मलाई पनि ज्यान बचाउन हम्मे पर्‍यो,’ टेकबहादुरले सुनाए, ‘कसोकसो गरेर म बाँचेछु ।’ उनले अलि कम पानी भएको स्थानमा उभिएरै रात कटाए ।
बिहान छरछिमेकको सहयोगमा श्रीमती र छोरीलाई खोज्दै जाँदा घरदेखि करिब ३ किलोमिटर दक्षिण शव फेला पर्‍यो । पानी परिरहेकै थियो । सुरक्षाकर्मीहरू पुग्न सक्ने अवस्था थिएन । वर्षा कम भएपछि बाढी पनि घट्यो त्यसपछि प्रहरीको सहयोगमा शव पहिचान गरेर ल्याएँ । आइतबार आमा–छोरीको एउटै चितामा सद्गत गरें । नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभाग आपतकालीन कार्यसञ्चालन केन्द्र भद्रपुरका अनुसार झापामा चार दिनको वर्षापछि आएको बाढीले ११ जना सर्वसाधारणको मृत्यु भएको छ । चारजना अझै बेपत्ता छन् । राजमार्ग र राजमार्ग दक्षिणका ७ नगर र ६ गाउँपालिकाका करिब २ हजार १९ परिवार प्रभावित भएका छन् । १ हजार ८ सय ९६ परिवार विस्थापित भएका छन् भने १२ परिवारको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

Page 9
देश

सातापछि अस्पताल

- विमल खतिवडा

चितवनको राप्ती नगरपालिका–१३ सार्लिङकी मैयामाया चेपाङलाई बिहीबार अस्पताल लगिँदै । तस्बिर : विमल/कान्तिपुर

 

चितवन– पहिरोमा पुरिएर घाइते राप्ती नगरपालिका–१३ सार्लिङकी ६० वर्षीया
मैयामाया चेपाङलाई एक सातापछि अस्पताल ल्याइएको छ । पानी पर्ने र पहिरो झर्ने क्रम नरोकिएपछि आफन्तले तत्काल अस्पताल पुर्‍याउन नसकेका हुन् । शनिबार राति पहिरोले घर पुरेपछि उनका पति ७० वर्षीय रणबहादुरले ज्यान गुमाए । मैयाँको पनि आधा शरीर पुुरियो । स्थानीयले थाहा पाएपछि आइतबार बिहान ८ बजे मात्र उनको उद्धार भयो । पहिरोले मलेखु–भण्डारा चेपाङ मार्गसमेत अवरुद्ध भएपछि सदरमुकाम पुग्न हिँड्नुको विकल्प रहेन । ‘छोराहरू ज्याला मजदुरी गर्न चरौंदी झरेका थिए, बुहारी माइत थिइन्,’ मैयाले बेडबाटै भनिन्, ‘घरमाथिबाट ठूलो आवाजसहित पहिरो आयो, बूढा मरे, बचाऊ भन्दै कराइरहेका थिए, मलाई पनि पुरिहाल्यो, राति भएकाले कसैले देखेन ।’
उनको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । पहिरोमा परेदेखि केही खान नपाएको मैयाले बताइन् ।‘पहिरोले कम्मरमुनि पुर्‍यो, माटो फाल्दै रातभर बसें, माथिबाट झरेका ढुंगाले टाउकामा लागेर घाउ भयो,’ उनले सम्झिइन्, ‘बिहान मात्र बूढा बितेको थाहा पाएँ, नातिले देखेर गाउँलेलाई खबर गरेपछि म बाँचें ।’ उनलाई पहिरोबाट झिक्न गाउँलेलाई झन्डै २ घण्टा लागेको थियो । गाउँको स्वाथ्यचौकीमा उपचार नहुने भएपछि १३ जनाले पालैपालो बोकेर अस्पताल ल्याएका हुन् । ‘बुधबार बिहान ५ बजे हिँडेको राति साढे १२ बजे चौकीडाँडा आइपुगियो,’ गाउँका अगुवा आइतबहादुर चेपाङले भने, ‘पहिरोले गाउँ क्षतविक्षत बनाएको छ ।’ मैयामायालाई भरतपुर अस्पताल भर्ना गरिएको छ । उनका ४ छोरा र १ छोरी छन् । गाउँलेले मैयालाई घरभन्दा १ सय मिटर तल चिलेक्ती खोलामा फेला पारेका थिए । घर मात्र होइन पाकेको मकैसमेत पुरिएको छ । लगाएको लुगाबाहेक केही बचेन । ‘बारीमा ४० डोको मकै हुन्थ्यो,’ स्थानीय मणिलाल चेपाङले भने, ‘७ डोको मात्र भाँचेका थियौं, अरू सबै पहिराले लग्यो ।’ उनको ६ जनाको परिवार त्यही मकैले धानिनुपर्छ । ‘पहिले फागुन–चैतबाट अनिकाल लाग्थ्यो,’ उनले भने, ‘यसपालि भदौबाटै लाग्ने भयो ।’ अधिकांश गाउँलेका मकै पहिराले पुरेको छ । खहरेखोला बारीमा पसेर बगाएको हो ।
‘मकै भाँच्न नपाई पहिराले खायो,’ विमान चेपाङले भने, ‘मकै पाक्ने भएकाले यो महिना सहकालको रूपमा चिनिन्थ्यो । बल्ल अनिकाल सकिएर पेटभरि खान पाइएला भन्दै रमाएका हामी फेरि भोकै पर्ने भयौं ।’ वडाध्यक्ष सूर्यबहादुर चेपाङले पहिराले गाउँमा ठूलो क्षति पुर्‍याएको बताए । ‘तत्काल राहत पुर्‍याउनुपर्छ, पहल भइरहेको छ,’ उनले भने, ‘चेपाङको मुख्य अन्नबाली मकै र कोदो नष्ट भएकाले अनिकाल हुने खतरा छ ।’

खानेपानी हाहाकार
बाढीपहिरोले गाउँको मुहानमा क्षति पुर्‍याएको छ । पाइप बगेकाले पानीको हाहाकार छ । स्थानीयका अनुसार श्यामराङ, सान्थली, सार्लिङ, गामिराङका १ सय ५० भन्दा बढी घरधुरी मर्कामा छन् । कोही
आकाशको पानी त कोही खोलाको धमिलो पानी पिउन बाध्य छन् । तापाङका ८, सान्थलीका ३ घर पहिरोको जोखिममा छन् । त्रस्त स्थानीय कार्जबाङ डाँडामा पाल टाँगेर बसेका छन् । वडा नम्बर १२ का अध्यक्ष अर्जुन चेपाङका अनुसार पलासीडाँडा र भन्ज्याङका ६ घर जोखिममा परेका छन् । पहिराले वीरेन्द्रनगर–ठकुरी भन्ज्याङ, मलेखु–भण्डारा चेपाङ मार्ग अवरुद्ध छन् । स्थनीय सुकबहादुर चेपाङको खोर बगाउँदा ३५ वटा बाख्रा र १० वटा खसी मरेका छन् । अहिलेसम्म गाउँमा राहत बाँड्न कोही गएका छैनन् । त्यस्तै १३ नम्बर वडामा पर्ने कान्दामा १७ घर पहिराको जोखिममा छन् । कुमार–बलराम स्मृति छात्रावासमा पहिरो खसेको छ । कान्देश्वरी आधारभूत विद्यालयका प्रअ बालकृष्ण थपलियाले बन्द छात्रावास पहिरो पन्छाएपछि आइतबारबाट सञ्चालनमा ल्याइने बताए । उक्त विद्यालयमा १ सय ५३ विद्यार्थी आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । विद्यालयको अघिल्लो भाग पहिराले भत्काएकाले तत्काल मर्मत गर्नुपर्ने अवस्था रहेको थपलियाको भनाइ छ ।

देश

प्रभावित क्षेत्रमा चिकित्सक

बाँके (कास)– बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरोको प्रकोप फैलिएपछि नियन्त्रणका लागि चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । औषधिसहित प्रभावित क्षेत्रमा पुगेका चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गरिरहेका छन् । बिहीबारसम्म करिब तीन हजारको उपचार गरिएको छ ।
राप्ती सोनारी गाउँपालिका–६ कमैया डाँडागाउँका ६ सय बढी बाढीपीडित बिरामी छन् । जटिल अवस्थाका बिरामीलाई उद्धार गरी उपचारका लागि नेपालगन्ज ल्याइएको छ । बाढी प्रभावित क्षेत्रमा झाडापखाला, ज्वरो आउने, टाउको र पेट दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ प्रशासक खिमबहादुर
खड्काले बताए । उनले भाइरल प्रकोप नियन्त्रणमा रहेको दाबी गरे । ‘गाउँमै उपचार सम्भव नभएका बिरामीलाई नेपालगन्ज ल्याएर उपचार गरिरहेका छौं,’ उनले भने ।
पीडितहरूले सामुदायिक वन, विद्यालय र प्रहरी चौकीमा आश्रय लिएका छन् । घर भत्किएपछि उनीहरु कष्टपूर्ण जीवन बाँचिरहेका छन् । विस्थापित परिवार बैजापुर, धामपुर, चिलरिया, बाल शान्ति केन्द्र, सोनपुर, खल्ला झगडिया, उढरापुरको पुरैनीको विद्यालयलगायतका स्थानमा बसेका छन् । उद्धारको काम करिबकरिब सकिएको स्थानीय प्रशासनले जनाएको छ । बाढीले पिउने पानी र वातावरण दूषित भएपछि बाढीग्रस्त क्षेत्रमा भाइरल लगायत रोगको संक्रमण देखिन थालेको स्वास्थ्यकर्मीले बताए । राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुबानमा छ । बाढीले औषधिसमेत नष्ट भएकाले उपचारमा कठिनाइ भएको छ । राप्ती सोनारी गाउँपालिकाको कमैया डाँडा, टिकुलीपुर, बालापुर, फत्तेपुर, बैजापुर, कचनापुर र कुसुम गाउँका पीडित बिरामी परेका हुन् । यस्तै, खजुरा गाउँपालिकाको उढरापुर र पुरैनाका पीडितहरूले स्थानीय विद्यालयमा आश्रय लिएका छन् । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक रामबहादुर चन्दले बाढी प्रभावित सबै क्षेत्रमा चिकित्सक टोली पुगेर उपचारमा सक्रिय रहेको बताए । जिल्ला जनस्वास्थ्य मातहतका स्वास्थ्यकर्मीको अभाव भएपछि शिक्षण अस्पताल र भेरी अञ्चल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूको सहयोग मागिएको थियो ।

देश

बिरामी जाँच्दै कोइराला

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला विराटनगर, घिनाघाटमा बिरामी जाँच्दै । तस्बिर : कान्तिपुर

विराटनगर (कास)– कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला राजनीतिमा मात्र सक्रिय छैनन् । विपत्तिमा परेका पीडितका घरमा पनि पुग्छन् । स्वास्थ्य जाँच गर्न अघि सर्छन् । उनले बुधबार विराटनगर महानगरपालिका– १९ बैजनाथपुरका बाढीपीडितको स्वास्थ्य जाँच गरे । बाढी गएपछि उनी मोरङका विभिन्न ठाउँ पुगे । पीडितको अवस्थाबारे जानकारी लिँदै सहयोग गरिरहेका छन् । ‘बाढी प्रभावितको अवस्था दयनीय छ,’ उनले भने, ‘रुघाखोकी, ज्वरो आउने र झाडापखालाको प्रकोप देखिएको छ ।’ कोइराला कांग्रेस नेत्री तथा आमा नोनाको नाममा खोलिएको नोना कोइराला स्मृति प्रतिष्ठानमार्फत स्वास्थ्य शिविरमा सहभागी भइरहेका हुन् । शुक्रबार साँझसम्म दाताहरूबाट ८ लाख मूल्य बराबरको औषधि संकलन गरी शिविर राख्ने तयारीमा जुटेको उनले बताए । कोइरालाले विराटनगर महानगरपालिकाका–४ र १९ वडाका पीडितको स्वास्थ्य जाँचसमेत गरेका छन् । महानगरका सबै वडामा शिविर राख्ने उनको योजना छ । बुधबार विराटनगर–१९ घिनाघाट उत्तर रहेको मुसहर बस्तीमा सञ्चालित स्वास्थ्य शिविरमा नेता कोइरालाले बिरामी जाँचेका थिए । बाढीका कारण सर्वस्व गुमाएका पीडितहरू आर्थिक अभावले उपचारका लागि अस्पताल जानसमेत सकेका छैनन् । बाढीबाट विस्थापितहरू बिरामी पर्न थालेका छन् ।

देश

पढाइ ठप्प

बाढीले भिजेका किताब सुकाउँदै राप्तीपारिका बासिन्दा । तस्बिर : कान्तिपुर

 

बाँके (कास)– बाढीले ८१ विद्यालय डुबानमा परेपछि १५ हजार बालबालिकाको पढाइ ठप्प छ । शुक्रबार रातिको बाढीले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका अधिकांश विद्यालय डुबेका छन् । खजुरा गाउँपालिकाका पुरैना र उढरापुर, बैजनाथ गाउँपालिकाको गुरुदियालपुरलगायत स्थानका विद्यालयमा पनि पानी जमेको छ । पानी निकास भइसकेको विद्यालयमा पीडितहरू आश्रय लिइरहेका छन् । बाढीले घर भत्किँदा विद्यार्थीका पाठ्य पुस्तकसमेत नष्ट भएका छन् । प्रभावित बालबालिकाको तथ्यांक संकलन भइरहेको शिक्षा कार्यालयले जनाएको छ । जिशिअ भीमबहादुर साउदले प्रारम्भिक चरणमा ८१ विद्यालय डुबानमा परेको जानकारी आएको बताए । उनका अनुसार क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन । ‘बाढीले विद्यालय पनि प्रभावित छन् । १५ हजार बालबालिकाको पठनपाठन चार दिनदेखि रोकिएको छ,’ साउदले भने, ‘कतिपय विद्यालयमा विस्थापितहरू बसेकाले पढाइ रोकिएको छ ।’विस्थापितले २१ वटा जति विद्यालय ओगटेका छन् । उनीहरू फर्किए आइतबारदेखि कक्षा सञ्चालन गरिने कार्यालयले जनाएको छ । ‘मौसमले साथ दिए आइतबारदेखि विद्यालय चलाउन शिक्षकलाई भनेका छौं,’ जिशिअ साउदले भने।

देश

घर बगेपछि अलपत्र

- नवीन पौडेल
नवलपरासीको मध्यविन्दु–२ सेहरीका बाढीपीडित घर बगेपछि खुला आकाशमुनि । तस्बिर : नवीन/कान्तिपुर 

परासी– मध्यविन्दु–२ सेहरीकी ५० वर्षीया केशरी महतो पाँच दिनयता छिमेकीको पिँढीमा रात कटाउन बाध्य छिन् । शनिबार दिउँसो नारायणीको बाढीले घर बगाएपछि परिवारकै बिचल्ली छ । उनका ५ छोराछोरी छन् । बाढीले घरमा रहेका अन्नपात र लत्ताकपडासम्म बाँकी राखेन । मेलापात गरेर घरखर्च चलाउँदै आएकी उनलाई अहिले बासकै चिन्ता छ । ‘मेलापात गरेरै भए पनि छाक टारांैला,’ उनले भनिन्, ‘तर बस्ने कहाँ ? घर बनाउने पैसा कहाँबाट ल्याउनु ?’ बाढीले सेहरीका झन्डै २० घर बगाएको छ । सयौं घरमा पानी पसेर बसिसाध्य छैन । सुन्दर चेपाङको पीडा पनि सानो छैन । अन्नपात सबै बग्यो । विद्यालय पोसाक र पुस्तकसमेत नबचेपछि उनलाई विद्यालय कसरी जाने भन्ने पिरलो छ । ‘धन्न दिउँसोको समय भएकाले ज्यान बच्यो, राति बाढी पसेको भए सबै बगिने रै’छ,’ उनले भने । विस्थापितले नजिकका विद्यालय र आफन्तकोमा शरण लिएका छन् । तर, जसोतसो जोगाएका बस्तुभाउ राख्ने ठाउँ छैन । जताततै बाढी रहेकाले तिनलाई आहार जुटाइदिन पनि समस्या छ । विभिन्न संघसंस्थाले ल्याएका चिउरा, चाउचाउ र चामलले पीडितलाई खाना जोहो भइरहे पनि भत्किएका घर बनाउन आर्थिक अभाव छ । कतिपय संघसंस्था र सरकारी निकायले अनुगमन गरेर गए पनि राहत उपलब्ध गराइएको छैन । राहत पाए सानो कटेरो हालेर ओत लाग्ने आसमा छन् पीडित । बाढीले जिल्लामा ६ सयभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त बनाएको छ । ३० हजार परिवार प्रभावित छन् । घरमा पानी पसेर झन्डै ६ हजार परिवार विस्थापित भएको प्रजिअ उदयबहादुर रानाले बताए । ‘तत्काललाई तीन किलो चिउरा, पानी शुद्धीकरण गर्ने औषधि, चाउचाउलगायत अत्यावश्क सामान बाँडिएको छ,’ उनले भने, ‘थप राहत अबको केही दिनमा स्थानीय निकायको सिफारिसका आधारमा प्रदान गरिनेछ ।’
मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका र दक्षिणी भेगका सरावल, प्रतापपुर, सुस्ता र पाल्हीनन्दन गाउँपालिकाका तटीय क्षेत्र बढी प्रभावित छन् । प्रतापपुरबाट विस्थापित ३ सय ५० परिवारलाई वीरेन्द्र आभारभूत विद्यालय र गुठीप्रसौनीबाट विस्थापित २ सय परिवारलाई जनज्योति माविमा राखिएको छ । घरभित्र पानी जमेकाहरू समेत तत्काल घर फर्किने अवस्था छैन । दुई–चार दिन घाम लागेपछि घर मर्मत गर्ने उनीहरूको योजना छ । तर, झन् पानी परिरहँदा थप बाढी आउने त्रास पनि उत्तिकै छ । स्थानीय निकायले चामल र चिउरा बाँड्नेबाहेक बसोबासको प्रबन्ध गर्न नसक्दा दैनिकी कष्टकर बन्दै गएको छ । सर्पदंशको त्रास व्याप्त छ । स्थानीय बासिन्दा दूषित पानीको कारण बिरामी पर्दै छन् । कम्तीमा तत्काल स्वास्थ्य शिविर र अस्थायी बसोबासका लागि टेन्ट उपलब्ध हुनुपर्ने पीडितको माग छ ।

देश

पहिरोले घर बगायो

बझाङ (कास)– दुर्गाथली गाउँपालिकाको खोरीगाउँमा पहिरोले एक घर बगाएको छ । ४ परिवार विस्थापित भएका छन् । पहिरोका कारण ६० घर उच्च जोखिममा छन् । अविरल वर्षापछि आएको पहिरोले स्थानीय नवल बोहोराको ५ कोठे पक्की घर बगाएको हो । पहिरोनजिकका ओमजंग कडायत, भक्त कडायत र हंस जप्रेलका घर जुनसुकै बेला पनि भत्किन सक्ने अवस्थामा छन् । उनीहरू परिवारसहित विस्थापित भएको स्थानीय वसन्त बोहराले बताए ।बीचबाट पहिरो सुरु भएपछि गाउँ नै बगाउने त्रास बढेको ओमजङ बोहराले बताए । उनले भने, ‘पहिरो नजिकका घरमा मानिस बस्नै छोडिसके । पहिरो अझै पनि खसिरहेको छ । ठूलो पानी पर्नासाथ गाउँ नै बगाउने सम्भावना छ ।’पहिरोले खोरी गाउँका लागि निर्माण गरिएको खानेपानी पाइप बगाएपछि हाहाकार मच्चिएको छ । भेलको पानी खानुपरेको स्थानीयले बताएका छन् । पहिरोले गाउँलेहरूको करिब १ सय २० रोपनी खेत र त्यसमा लगाएको धान, मकै र कोदोबालीसमेत बगाएको छ । प्राय: सबै परिवार किसान रहेको यस गाउँका कृषक बालानाली र खेत बगाएपछि सम्भावित खाद्यान्न संकटको चिन्ताले पिरोलिन थालेको स्थानीयले बताएका छन् । ४५ परिवारको जमिन र बालीनालीसमेत पहिरोले बगाएको छ ।

पाँच परिवार विस्थापित
सिन्धुपाल्चोक– बाह्रबिसे नगरपालिकाको घुम्थाङ बिम्बुगाउँमा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन् । पूरै गाउँ जोखिममा छ । ‘हाम्रो त बिल्लीबाठ भयो, अब कहाँ जाने ?’ घरटहरा बगेपछि छिमेकीको गोठमा आश्रय लिइबसेका बादी थामीले भने, ‘माथिबाट दुईवटा पहिरो खसेको छ, तलबाट जमिन भास्सिँदै छ ।’ ऋण खोजेर बल्लतल्ल बनाएको टहरासमेत बगेपछि बासकै समस्या परेको विक्रम थामीले बताए । ‘कहिले गाउँ नै भासिएर जान्छ थाहा छैन, अरूको आश्रयमा बाँचिरहेका छौं,’ उनले भने, ‘दिनरात काल कुरेर बसिरहेजस्तो लाग्छ, सुरक्षित जग्गामा जान पाए हुन्थ्यो ।’ घुम्थाङको बिम्बू, डाँडागाउँदेखि थामीटोलसम्म जमिन भासिँदै छ । भूकम्पले चर्किएका चारैतिरका पहाड टुक्रिएर पहिरो झरिरहेको छ । जोखिम रहेको थाहा भएर पनि २ सय भन्दा बढी परिवार त्यहीं बस्न बाध्य छन् । सुरक्षित स्थानमा घर बनाउन उनीहरूले जग्गा नपाएको त्यहाँ कार्यरत सामाजिक संस्थाकी परिचालक रजनी तिमल्सिनाले बताइन् ।
बाह्रबिसे बजारको माथिल्लो भाग पलातीका ५० परिवार जोखिममा छन् । जमिन भासिँदै गएकाले पूरै बस्ती खस्ने र तलको सुनकोसी नदी थुनिने जोखिम बढिरहेको स्थानीय शम्भुबहादुर तिमल्सिनाको भनाइ छ ।

Page 11
कला र शैली

भूकम्प कथामा ‘नीरफूल’ आउँदै

- कान्तिपुर संवाददाता
राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभिनेता दयाहाङ राई, अभिनेत्री रेखा थापा र अन्य कलाकारसाथ निर्देशक फूलमान वल ।तस्बिर : इलिट जोशी

 

काठमाडौ– अहिलेका निकै व्यस्त अभिनेता हुन् दयाहाङ राई । उनलाई बग्रेल्ती फिल्म खेलेको आरोप लाग्ने गरेको छ । दयाहाङ स्वयं पनि यो आरोप सही हो भन्न थालेका छन् ।‘पाँचमध्ये चारजना पत्रकारले बनाएको फिल्ममा काम गरेछु,’ उनले हाँस्दै भने, ‘एक जनाकोमा मात्रै पो छुटेछु त ।’ उनले पत्रकारको प्रसंग किन निकालेका थिए भने पत्रकार फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’ को कार्यक्रममा उनी बोलिरहेका थिए । राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा दयाहाङले स्क्रिप्ट र पारिश्रमिकका आधारमा फिल्म छान्ने गरेको बताए । ‘सुरुसुरुका दिनमा स्क्रिप्टमा कचकच गर्थें,’ उनले थपे, ‘त्यस्तो बेला टिम नै फुट्लाजस्तो हुन्थ्यो ।’ दयाहाङ ‘नीरफूल’ का मुख्य अभिनेता हुन् । यसको कथावस्तु चित्त बुझेकाले काम गरेको बताए । सामान्य कथाभित्रको असामान्य घटनावली भएको फिल्मका रूपमा उनले ‘नीरफूल’ लाई अथ्र्याए । ‘निकै गाह्रो चरित्र निर्वाह गरेको छु,’ सेतो सर्टमा ठाँटिएका दयाले भने, ‘केही दृश्यमा तामाङ भाषा बोल्नुपथ्र्यो, यसको लागि पनि निकै मिहिनेत गर्नुपर्‍यो ।’फिल्ममा केमियो रोल गरेकी अभिनेत्री रेखा थापाले पनि यसको कथाले नै आफूलाई उत्साहित गरेको बताइन् । स्क्रिप्ट राइटरसमेत रहेका निर्देशक वलले चाहिँ कन्सेप्ट निर्माणदेखि छायांकनसम्मको अनुभव सुनाए । दुई वर्षअघिको महाभूकम्पपछि दिमागमा कथा क्लिक भएको भन्दै उनले ‘नीरफूल’ भूकम्पमा छिन्नभिन्न परिवारले पुनर्मिलनका लागि गरेको संघर्षमा आधारित रहेको बताए । ‘यो रुबी भ्यालीको कथा हो,’ विशाल बजारस्थित वेन्टो लाउन्ज एन्ड बारमा आयोजित कार्यक्रममा उनले भने, ‘गणेश हिमाल छेवैको यो ठाउँको भूगोल, प्रकृति र संस्कृतिबारे अहिलेसम्म बाहिरी दुनियाँलाई थाहा छैन, यो फिल्मले रुबी भ्यालीलाई पनि चिनाउने काम गर्नेछ ।’ उनले फिल्ममा राज्यप्रणालीको भ्रष्टतालाई पनि उठाउन खोजेको दाबी गरे । फिल्ममा दयाहाङको जोडीको रूपमा अभिनेत्री शान्ति वाइबा छिन् । उनले रुबी भ्यालीको गोठमा आगो ताप्दै भेडीको दूध खाएको रोचक अनुभव सुनाइन् । ‘दया दाइसित पहिले पनि केही फिल्ममा स–सानो भूमिका गरेकी थिएँ,’ उनले भनिन्, ‘योपटक ढुक्कैले काम गर्न पाएँ ।’
बाल गायिका जिग्मे छयोइकी घिसिङ फिल्मको मुख्य भूमिकामध्ये एकमा छिन् । फ्रेन्डस् अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रिनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरिरहेको फिल्मकी कार्यकारी निर्माता भने डोमा सोनाम हुन् । व्यवसाय क्रममा दुबई रहेकीले पत्रकार सम्मेलनमा उनी उपस्थित हुन सकिनन् । निर्माताका रूपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अशोक थापा छन् । निर्देशक वलले फिल्म निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको जनाए । फिल्मको कथा र उठाउन खोजिएको सामाजिक विषयवस्तु मन परेर आफूहरूले गैरनाफामुखी तवरले निर्माणमा सघाएको नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलका अध्यक्ष शंकर घिमिरेले जनाए । फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, सरिता गिरी, राजन खतिवडा, सरोज अर्याल, मानस राज, लक्ष्मी बर्देवा, जीवन बराल, रोशन फयुबालगायत कलाकार आबद्ध छन् । एसोसिएट निर्देशक सचिन घिमिरेले पनि पटकथामा सहकार्य गरेका छन् भने प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको कार्यक्रममा बताइयो । फिल्मको ३० प्रतिशत छायांकन बाँकी रहेको र आउँदो माघमा रिलिजको योजना रहेको निर्देशक वलले जनाए ।

कला र शैली

हामीमा आलोक र ढुंगाना

कविहरू पवन आलोक (दायाँ) र राजेश ढुंगाना

 

 काठमाडौं (कास)– यसपटकको ‘हामी कवि र कविता’ शृंखलामा कवि राजेश ढुंगाना र पवन आलोक प्रस्तुत भएका छन् । लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनाम थिएटरले हरेक महिनाको पहिलो दिन गर्दै आएको यो शृंखलाको ४९ औं संस्करण हो ।पहिलो चरणमा कवि ढुंगाना प्रस्तुत भएका थिए । झापाको भद्रपुर बस्दै आएका ढुंगाना १२ वर्षपछि कविता सुनाउन काठमाडौं आइपुगेका हुन् । २२ वर्ष काठमाडौं बसेका उनी १२ वर्षअघि स्वास्थ्यमा आएको खराबीका कारण झापा फर्किएका थिए । ‘२०७० मा ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ कविता संग्रहको प्रकाशनका लागि आएको थिएँ । तर कविता सुनाउन पाइएको थिइनँ,’ उनले भने, ‘सबैले काठमाडौंमा आएर कविता सुनाउनुपर्‍यो भनेर आग्रह गरिरहनुहुन्थ्यो । अहिलेको पटक आग्रह नकार्न सकिनँ ।’ उनले सोही संग्रहबाट ‘मान्छे’, ‘जिन्दगी’, ‘मन’, ‘जनता’, ‘मेरो वर्तमान’, ‘मुस्कुराएको आँसु’ लगायत सुनाए ।कवि आलोकले ‘मेरो कुलुङ’, ‘मेरो सपनाको नयाँ नेपाल’, ‘धरहरा’, ‘अब त अति नै भो’, ‘युद्धहरू’, ‘मन’, ‘यस्तै छ मेरो देशको खबर’, ‘ओली दाइलाई स्वर्गमा चिठी’, ‘ग्राउण्ड जिरोबाट म माइकल’, ‘हड्सनको किनारमा’, ‘पेरिसकी सुन्दरी’ जस्ता कविता सुनाए ।

 

कला र शैली

विनरको अभिनय मोह

कोरियाली ब्वाई ब्यान्ड ‘विनर’ का सदस्य एवं अभिनेता काङ सियोङयुनले दह्रो व्यायाम सुरु गरेका छन् । आफू अनुबन्धित नयाँ ड्रामाका लागि वर्क आउट थालेको उनले बताए । सर्ट फुकाल्नुपर्ने कुनै दृश्य आइपरे भद्दा ज्यान नदेखियोस् भनेर उनले व्यायाम सुरु गरेका हुन् ।‘जीउलाई दरिलो बनाउँदै छु,’ उनले भने, ‘सुरुमा मोटोपन कम हुने व्यायाम गरेँ । अब मसलको एक्सरसाइज गर्दै छु ।’ उनी फिल्ममा दक्षिणपूर्वी कोरिया, कियोङसाङको लवजमा सुनिनेछन् भने पात्र अलि हट्टाकट्टा खालको हुने बताइएको छ । ‘यसबारे धेरै त खुलाउन सक्दिनँ,’ उनले भने, ‘तर, यति चाहिँ दाबीका साथ भन्न सक्छु, यो पात्र मेरा लागि उपयुक्त छ ।’ खोजेजस्तै भूमिका पाएकाले अभिनेता सियोङयुनले हरेक कोणबाट राम्रो गर्न खोजेको कोरियाली सञ्चारमाध्यमको विश्लेषण छ । विनर ब्यान्डकै अर्का सदस्य सङ मिन हो उर्फ मिनोले पनि राम्रो प्रस्ताव आए अभिनयमा रुचि भएको बताएका छन्। ‘अहिले त ब्यान्डकै प्रचार गरौं भन्ने लागेको छ,’ मिनो भन्छन्, ‘तर, एक्टिङमा मलाई रुचि छ । भविष्यमा ट्राइ गर्नेछु ।’ ब्यान्डका बाँकी दुई सदस्य किम जिन वु (जिनु) र लि सिअङ हु पनि फिल्म क्षेत्रमा छन् । जिनु अभिनेता नै हुन् भने सिअङ हु कोरियोग्राफी गर्छन् । सन् २०१३ मा स्थापना भएको ब्यान्ड रियालिटी सो ‘विन : हु इज नेक्स्ट’ को विजेता हो ।

कला र शैली

कवितारामलाई सम्मान

सम्मान

लन्डन (कास)– केही महिनाअघि नै मृत्युको मिति पाएका क्यान्सरपीडित सहित्यकार डा. कविताराम श्रेष्ठलाई बेलायतमा एक समारोहबीच सम्मान गरिएको छ । प्रवासी नेपाली साहित्य समाज बेलायत (प्रभात) ले श्रेष्ठलाई वेब्रिजमा सम्मान गरेको हो । ७० वर्षीय श्रेष्ठलाई अक्सिजनको सिलिन्डरसहित कार्यक्रममा सहभागी गराइएको थियो ।
श्रेष्ठले चिकित्सकले मिति दिए पनि आफूलाई मृत्युसँग डर नभएको बरु मृत्युचाहिँ आफूसँग हारिरहेको बताउँदा दर्शकदीर्घा स्तब्ध देखिन्थ्यो । सम्मान तथा विमोचन कार्यक्रम गरिदिएकामा आफू सधैं ऋणी रहने उल्लेख गर्दै आफ्नो विमोचित पुस्तक ‘लाइट अफ दि हिमालय’ अन्तिम कृति भएको बताए । राजदूत दुर्गाबहादुर सुवेदीले सम्मानपत्र हस्तान्तरण गर्दै श्रेष्ठले नेपाली साहित्य क्षेत्रमा दिएको योगदान साहित्यजगत्ले सधैं स्मरण गरिरहने बताए । राजदूतले श्रेष्ठको नयाँ पुस्तक ‘लाइट अफ दि हिमालय’ को विमोचन पनि गरे । नयाँ कृतिबारे राजेन्द्र क्षेत्री, रुपक श्रेष्ठ, एलिजाबेथ इभान र मुलीवीर राईले समीक्षात्मक टिप्पणी गरेका थिए । विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले श्रेष्ठको साहित्यिक योगदान कहिल्यै स्मृतिबाट नमेटिने बताए ।कार्यक्रममा श्रेष्ठबारे मुलीवीरद्वारा निर्मित डकुमेन्ट्री पनि देखाइएको थियो । श्रेष्ठका ३७ पुस्तकसहित दुई डकुमेन्ट्री सार्वजनिक भइसकेका छन् । उनी एकदशकदेखि यूकेको वकिङमा बस्दै आएका छन् । भिजिटिङ प्रध्यापकका रूपमा लामो समय काम गरेका श्रेष्ठको अधिकांश समय साहित्य क्षेत्रमा बितेको थियो । श्रेष्ठलाई साहित्य समाजले सन् २००८ मा पनि पहिलोपटक सम्मान गरेको थियो ।

कला र शैली

कमललाई जोगमाया

सम्मान

अस्ट्रेलिया (कास)– जोगमाया चापागाईं गजल पुरस्कार यस वर्ष गजलकार कमल संघर्षलाई दिइने भएको छ । नेपालमा रहेर साहित्य सिर्जनामा लागिपरेका साहित्यकारलाई प्रत्येक वर्ष नगद २५ हजार र तामपत्रसहित यो पुरस्कार दिइँदै आएको छ ।
अस्ट्रेलियामा रहेका लेखक प्रदीप चापागाईंले आफ्नी हजुरआमाका नाममा स्थापना गरेको उक्त पुरस्कार गतवर्ष असीम सागरलाई प्रदान गरिएको थियो । कमललाई ‘सडक’ गजल संग्रहका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । पुरस्कार केही समयपछि काठमाडौंमा हस्तान्तरण गरिनेछ ।

कला र शैली

बाढीपीडितलाई सहयोग जुटाउँदै कलाकार

शैली संक्षेप

काठमाडौं (कास)– तराईका बाढीपिडितको सहयोगार्थ बिहीबार सानो गौचरणस्थित काठमाडौं इंग्लिस स्कुलमा सांगीतिक कार्यक्रम भएको छ । एस हयुमनिटिज र संगीतकार आनन्द राईको संयोजकत्वमा भएको कार्यक्रममा निशा देशार, विश्व नेपाली, उदेश श्रेष्ठ, उञ्जिला श्रेष्ठ, रोजी श्रेष्ठ, उल्सन श्रेष्ठलगायतले प्रस्तुति दिएका थिए ।कार्यक्रमबाट उठेको २१ हजार ५ सय रुपैयाँ विद्यालयका प्रिन्सिपल दिनेश खतिवडाले संयोजक राईलाई हस्तान्तरण गरे । ‘यो रकम र एस हयुमिनिटिज अस्ट्रेलियाबाट संकलन भएको ५० हजार रुपैयाँ एकमुस्ट ‘कान्तिपुर बाढी–पहिरो राहत कोष’ मा जम्मा गर्ने निर्णय गरेका छौं,’ राईले भने ।

कला र शैली

‘लिबाय् धुंका’ बन्ने

शैली संक्षेप

ललितपुर (कास)– फिल्म निर्देशक एवं संगीतकार राजेशमान सिंहको निर्देशनमा नेपालभाषाको फिल्म ‘लिबाय् धुंका’ निर्माण हुने भएको छ ।फिल्ममा आशाकाजी थकु, मञ्जु श्रेष्ठ, नारायणदेवी प्रधान, कुमार कार्की, भीमसेन रिजालसहितका कलाकारको मुख्य भूमिका रहनेछ । क्यामेरामा शंकर महर्जन, नृत्य निर्देशन आराध्या लक्ष्मी खड्गी, निर्माण नियन्त्रण सुरज श्रेष्ठ ‘बकंफुस्लु’ गर्ने भएको छ । सुमन कपाली तथा विरेन शाक्यको संगीत रहनेछ भने फिल्म अडियो भिडियोस्टेसनप्रालिले निर्माण गर्न लागिएको हो । सिंहले ‘चन्द्रमान’, ‘बकंफुस्लु’, ‘हिसिमदु’ जस्ता फिल्म लेखन निर्देशन गरिसकेका छन् । उनले नेपालभाषाको गीति एल्बम ‘मुसुक्क न्हिला हु’ लगायत धेरै गीत लेखन तथा संगीतसमेत गरिसकेका छन् ।फिल्मकर्मी रामशरण पाठकले मुलुकको मौलिक कथामा निर्माण हुने फिल्म नै साँचो अर्थमा नेपाली हुने बताए ।

कला र शैली

चन्द्रदेवको ‘यात्रा : आफ्नै आँगनको’

पुस्तक

काठमाडौं (कास)– पूर्वमन्त्री तथा नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीको प्रयोगात्मक काव्य ‘यात्रा : आफ्नै आँगनको’ राजधानीमा लोकार्पण गरियो । राष्ट्रकवि माधवप्रसाद घिमिरे, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र वामपन्थी नेता विष्णुबहादुर मानन्धरले पुस्तकको लोकार्पण गरे । राष्ट्रकवि घिमिरेले यस कृतिमा एक वर्गले दु:ख पाउँदा अर्को वर्गले आनन्द लिने परिपाटी, जनताले भोग्नुपरेका दु:खकष्टमा भिजेर कविले कलम चलाएकाले समाज परिवर्तनका लागि यस कृतिले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पूर्वप्रधानमन्त्री चन्दले जोशीलाई संघर्षशील, मानववादी, ज्योतिषदेखि विज्ञानसम्म र लोक साहित्यदेखि विश्व साहित्यको ज्ञाताका रूपमा व्याख्या गरे । साहित्यकार मोदनाथ प्रश्रितले नेपालको कला संस्कृति र प्राकृतिक स्रोतसाधनको अध्ययनमा आधारित यस संस्करणका लेखकले समाज निर्माणमा कठोर परिश्रम गरेको बताए । त्यस्तै, साहित्यकार तारानाथ शर्माले जोशीलाई राजनीतिभन्दा पनि साहित्यले चिनाउने भएकाले साहित्यमा अझ बढी कलम चलाउन आग्रह गरे । जोशीको यो दोस्रो साहित्यिक कृति हो ।

 

कला र शैली

आनन्दका अनुभूति

पुस्तक

काठमाडौं (कास)– प्रहरी अधिकृत छँदाका अनुभव समेटेर आनन्द पुरीले संस्मरण कृति ल्याएका छन् ।
‘९ आइजिपीसँगको अनुभूति’ राजधानीमा कथाकार माया ठकुरी, समीक्षक हरि अधिकारी र सञ्चारकर्मी दामोदर न्यौपानेले लोकार्पण गरे ।प्रहरी प्रशासनमा हुने गरेका विभिन्न क्रियाकलापलाई उतारिएको पुस्तक पठनयोग्य रहेको ठकुरीले बताइन् ।
जागिरे छँदा नौ जना आईजीपीहरूको कामलाई नजिकबाट नियालेका पुरीले त्यस बेला मनस्थितिभित्र परेका सकारात्मक एवं नकारात्मक प्रभावलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए । ‘पछिल्लो समय जसरी प्रहरी संगठनलाई कठपुतली बनाइँदै छ, यसमा मेरो गम्भीर चिन्ता र चासो रहेको छ,’ उनले भने, ‘यसमा कुनै प्रतिशोध लिन, चरित्रहत्या गर्न या कसैप्रति लाञ्छना लगाउन नभई मैले भोगेका अनुभूतिहरू बिसाउने प्रयास अवश्यै गरेको छु ।’कृतिमा पुरीले प्रहरी प्रशासनभित्रका मात्रै नभई माओवादी आन्दोलन, राजनीतिक पक्षहरूलाई समेत उजागर गरेको समीक्षक अधिकारीले बताए । उक्त कृति बीएन पुस्तक संसारले छापेको हो ।

 

Page 12
विदेश

‘कोरियाली प्रायद्वीपमा युद्ध हुँदैन’

दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इन

 

सोल (बीबीसी)– दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले कोरियाली प्रायद्वीमा युद्ध नहुनेमा आफू ढुक्क भएको बताएका छन्। कार्यकालको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मुनले प्योङयाङमाथि दक्षिण कोरियाको सहमतिमा मात्रै सैनिक कारबाही गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबद्धता जनाएको बताए । ट्रम्पले ट्वीटरमार्फत उत्तर कोरियालेगुआममा आक्रमण नगरेर बुद्धिमान् निर्णय गरेको उल्लेख गरेका छन् । मुनले उत्तर कोरियाले क्षेप्यास्त्र र परमाणु हतियार परीक्षण रोके वार्ता गर्न विशेष दूत पठाउन सकिने जनाए । ‘देश निर्माण गर्न मानिस मिलेर काम गरे । हामीहरू
युद्धका कारण फेरि केही गुमाउन चाहँदैनौं ।’ मुनले भने, ‘त्यसैले कोरियन प्रायद्वीपमा फेरि युद्ध हुँदैन ।’
मुनले वार्ताका लागि वातावरण बनाउन उत्तर कोरिया इमानदार हुनुपर्ने बताए । उनले भने, ‘अहिलेका लागि वार्ता नै उत्तम विकल्प हो, सबै कुरा छोडेर वार्तामा लाग्न म उत्तर कोरियालाई आग्रह गर्दछु ।’ उनले विगतका वर्षहरूका तुलनामा राम्रो र परिणाममुखी वार्ताका रूपमा अघि बढ्न आफू तयार रहेको बताए । मुनले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरलाई दबाब दिने उद्देश्यले सैनिक चेतावनी दिएको बताए । उनले प्योङयाङलाई वार्ताका लागि बाध्य पार्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मार्फत प्रतिबन्ध लगाएको दाबी गरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाली राष्ट्रपति मुनले कोरियाली प्रायद्वीपमा तनाव मत्थर पार्न प्रयास गरिरहेका छन् । यसअघि उनले कोरियाली प्रायद्वीपले अर्को युद्ध धान्न नसक्ने बताएका थिए । उनले अमेरिकालाई उत्तर कोरियामा आफ्नो सहमतिबिना कुनै पनि आक्रमण नगर्न आग्रह गरेका थिए ।
उत्तर कोरियाले प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी भूभाग गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने योजना पूरा भएको बताएसँगै कोरियाली प्रायद्वीपमा तनाव बढेको हो । प्रतिउत्तरमा ट्रम्पले अमेरिकी सेना पनि आक्रमणको जवाफ दिन तम्तयार रहेको बताएका थिए । उनले अमेरिकामाथिको आक्रमण नतिजा विश्वकै सबैभन्दा भीषण आक्रमण हुने चेतावनी दिएका थिए । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाको आक्रमणले पूर्णरूपको युद्ध सुरु हुने बताएका थिए ।
सन् १९५० देखि तीन वर्षसम्म चलेको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई पुनर्मिलन गराउन रेडक्रसले वार्ता प्रस्ताव गरेको थियो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा
क्षेत्रमा रहेको पानुमजोममा वार्ता गर्न आह्वान गरेको थियो । तर उत्तर कोरियाले हालसम्मका वार्ता प्रस्तावबारे कुनै जवाफ दिएको छैन ।
पछिल्लो समय दक्षिण कोरियाली राष्ट्रपतिको प्रस्तावबारे हालसम्म उत्तरको कुनै प्रतिक्रिया प्राप्त भएको छैन् । दुई कोरियाबीच सन् २०१५ को अक्टोबरपछि कुनै वार्ता नभएका कारण युद्धताका छुट्टिएका परिवारका सदस्यको पुनर्मिलन हुन सकेको छैन । युद्धका कारण दुवै देशका ६० हजारभन्दा बढी मानिस अलग भएका थिए ।

 

विदेश

वार्ता नै उत्तम विकल्प : चीन

बेइजिङ (सिन्हवा)– चीनले कोरियाली प्रायद्वीपमा जारी तनाव अन्त्य गर्न वार्ता नै उत्तम विकल्प भएकोमा जोड दिएको छ । चीनका केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष फान च्याङ्लङले अमेरिकी जलसेनाका जर्नेल जोसेफ डनफर्डसँगको भेटमा कोरियाली तनाव अन्त्यको सैनिक समाधान उपयुक्त नहुने बताएका हुन् । उनले अमेरिकी पक्षलाई चीनसँग सहकार्य गरी कोरियाली प्रायद्वीपमा जारी द्वन्द्व समाधान गर्न आग्रह गरे । डनफर्डले डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो उच्च सैनिक भ्रमण गरेका हुन् ।

 

विदेश

‘झूटो आरोपमा फसाइयो’

भारतमा नेपाली पक्राउ
- पर्वत पोर्तेल
आमाको उपचारका लागि सिलिगुडी पुगेका उदयहाङ फागोलाई गत साउन
१५ गते पक्राउ गर्दै पश्चिम बंगाल प्रहरी । फाइल तस्बिर : कान्तिपुर

सिलिगुडी (भारत)– गत साउन १६ गते आमा गंगामायाको उपचारका लागि दिदी साधनासँगै सिलिगुडी आएका थिए, इलाम सूर्योदय नगरपालिका १० फिक्कल २८ वर्षीय उदयहाङ फागो । आमाको छातीमा समस्या थियो । राजधानीको बी एन्ड बी अस्पतालमा पनि उपचार गराए पनि निको नभएपछि छिमेकको सिलिगुडीमा उपचार गराउन आमा र दिदीसहित उदय हाङ सिलिगुडी आएका थिए । सिलिगुडीको डनबस्को स्कुल नजिकैको फेमिली क्लिनिकमा स्त्री रोगकी विशेषज्ञ डा. कविता मन्त्रीको पखाईमा थिए तीनैजना । त्यही बेला सादा पोसाकका प्रहरीले उदय हाङलाई पक्राउ गरे । दिदी साधनाले भनिन्, ‘उतिबेला अनुसन्धानका लागि हो, छाडिहाल्छौं भन्यो, तर अहिलेसम्म छाडेको छैन ।’ सिलिगुडी यात्रा उनको पहिलो रहेको दिदी साधनाले बताइन् । गोर्खाल्यान्ड आन्दोलनलाई सघाएको कारण फागोलाई पक्राउ गरेको प्रहरीको दाबी छ । तर, उनी गोर्खाल्यान्ड आन्दोलनबारे बेखबर रहेको परिवारले जनाएको छ । फागोलाई पक्राउ परेको दुई दिनअघि सिलिगुडीदेखि ८ किलोमिटर उत्तरको सुकुना भन्ने स्थानमा गोर्खाल्यान्डका आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो । आन्दोलनकारीले निकालेको खुकुरी जुलुसलाई सुरक्षाकर्मीले हस्तक्षेप गर्न खोज्ने क्रममा भएको झडपमा दुई सुरक्षाकर्मी र दुई आन्दोलनकारी गम्भीर घाइते भएका थिए । प्रहरीले यही घटनामा फागोको संलग्नता दाबी गरिरहेको छ । बुवा राजकुमारले सुकुना घटना भएको दिन छोरा नेपालमै रहेको दाबी गरेका छन् । ‘उसको कल रेकर्डले प्रष्ट पार्छ, उदय त्यो घटनाको दिन नेपालमै थियो,’ राजकुमारले
आक्रोश पोखे, ‘अनि किन झूटो आरोपमा फसाइयो ?’ फागोलाई दंगा फैलाएको आरोपमा भारतीय दण्ड संहिताको धारा १४७, १४८ र १४९ का साथै खतरनाक हतियार बोकेर सरकारी काममा व्यवधान खडा गरेको र प्रहरीमाथि आक्रमण गरेको आरोप लगाइएको छ । अनुसन्धानका लागि सिलिगुडी प्रहरीको हिरासतमा रहेका उनलाई शुक्रबार सिलिगुडी सब–डिभिजन अदालतमा पेस गरिंदै छ ।
फागोका परिवारले झूटो मुद्दा लगाइएको भन्दै नि:सर्त रिहाइको पहल गरिदिन सरकारसँग माग गरेको छ । जिल्ला प्रशासन कार्यालय इलामले गृह र परराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकेको जनाएको छ । उदयकी दिदी साधनाले भाइलाई भेट्नसमेत नपाएको गुनासो गरिन् । ‘कहाँ र कसरी उसलाई राखिएको छ, हामी बेखबर छौं,’ दिदी साधनाले भनिन् । मानवअधिकारकर्मी तथा पत्रकारको टोलीलाई समेत फागोसँग भेट्न दिइएको छैन ।
नेपाल मानवअधिकार परिषद्अध्यक्ष तुलसी थापासहित सञ्चारकर्मी र परिवारका सदस्य बुधबार उनलाई भेट्न सिलिगुडी पुगेका थिए । परिषद्ले अध्यक्ष थापाले फागोको रिहाइका लागि पश्चिम बंगाल सरकारका अधिकारीहरूसँग समन्वयन सुरु गरेको बताए । यसैबीच, कोलकातास्थित भारतीय महावाणिज्य दूत एकनारायण अर्यालले फागो पक्राउबारे पश्चिम बंगाल सरकारले कुनै जानकारी नगराएको बताए । ‘गृह मन्त्रालयले घटनाबारे थाहै नपाएको बहाना गरिरहेको छ,’ अर्यालले कान्तिपुरसँग फोनमा भने, ‘यद्यपि म व्यक्तिगत रूपमा रिहाइका लागि पहल गरिरहेको छु ।’ ‘फागो निर्दोष छन्’गोर्खाल्यान्ड आन्दोलनमा नेपालको संलग्नतालाई जबरजस्ती पुष्टि गर्न पश्चिम बंगाल पुलिसले निर्दोष नेपाली नागरिकलाई गिरफ्तार गरेको गोर्खा जनमुक्ति मोर्चाको दाबी छ । केही समयअघि मुख्यमन्त्री ममता बेनर्जीले गोर्खाल्यान्ड आन्दोलनमा नेपालका माओवादी र चीनको समेत हात रहेको आरोप लगाएकी थिइन् । आरोप प्रमाणित गर्न फागोलाई पक्राउ गरिएको मोर्चाको दाबी छ । मोर्चाका अध्यक्ष विमल गुरुङले पश्चिम बंगाल सरकारले जबरजस्ती निर्दोष व्यक्तिलाई पक्राउ गरेर गोर्खाल्यान्ड आन्दोलनमा नेपालको सम्बन्ध प्रमाणित गर्न खोजेको बताए । उनले भने, ‘निर्दोष व्यक्तिलाई माओवादी आरोपमा पक्राउ गर्ने अधिकार बंगाल सरकारलाई छैन ।’

विदेश

एकै दिन ६ सय आप्रवासीको उद्धार

स्पेन (बीबीसी)– स्पेनी तटरक्षकहरूले गत २४ घण्टामा ६ सय आप्रवासीहरूलाई उद्धार गरेको जनाएका छन् । मोरक्कोबाट १५ वटा पानी जहाजमा स्पेन आएका आप्रवासीहरूमा ३५ जना बच्चा र एक शिशु भएको स्पेनी अधिकारीले बताएका छन् । आप्रवासीहरू नाइजेरिया, गिनी, आइभरीकोस्टका नागरिक छन् । संयुक्त राष्ट्रसंघका अनुसार स्पेनमा गत वर्षभन्दा ३ गुणा बढी करिब ९ हजार आप्रवासी आइसकेका छन् । उनीहरूमध्ये धेरैजसो १२ किलोमिटर डुंगामा आएका हुन् । समुद्र पार गरेर आउने क्रममा कम्तीमा १ सय २० जना मानिसको डुबेर मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) का अनुसार यो वर्ष सबैभन्दा धेरै आप्रवासी स्पेनमा आएका छन् । गत वर्ष भने सबैभन्दा बढी ग्रिसमा आएका थिए । यस वर्ष भने लिबियाबाट इटली जाने आप्रवासीको करिब १ लाख भएको आईओएमले जनाएको छ । लिबियाबाट इटली जाने क्रममा २ हजार २ सयभन्दा बढीको ज्यान गइसकेको छ । कतिपय आप्रवासीले दलालको शुल्क जोगाउन सामान्य डुंगा प्रयोग गर्दा डुबेर मृत्यु हुने गरेको छ । केही आप्रवासीले सामाजिक सञ्जालमार्फत स्पेनका अधिकारीहरूलाई आफूहरू स्पेनको सामुद्रिक क्षेत्रमा प्रवेश गरेको बताउने गरेका छन् ।

विदेश

हवाई कारबाहीमा ५ को मृत्यु

छोटकरी

अफगानिस्तान (सिन्हवा)– उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तको चार्दारा जिल्लामा सुरक्षाकर्मीको हवाई कारबाहीमा बिहीबार ५ तालिवान मारिएका छन् । जिल्ला प्रमुख जल्माई फारुकी आतंककारी लुकेर बसेको स्थान पहिचान गरी कारबाही गरिएको जनाए । अफगान सुरक्षाकर्मीले हाल विभिन्न प्रान्तहरूमा तालिवान र इस्लामिक स्टेटविरुद्ध आक्रमण तीव्र पारेको छ ।

विदेश

सरिफविरुद्ध फेरि छानबिन

छोटकरी

इस्लामाबाद (रोयटर्स)– पाकिस्तानको भ्रष्टाचार निवारण संगठन राष्ट्रिय जवाफदेही ब्युरोले पूर्वप्रधानमन्त्री नवाज सरिफ र उनका दुई छोरालाई बयानका लागि बोलाएको छ । सर्वोच्च अदालतको आदेशअनुसार मुद्रा अपचलन र भ्रष्टाचारबारे बयान दिन उनीहरूलाई शुक्रबार बोलाइएको हो । ब्युरोले नवाज सरिफ र उनका छोरा हुसेन र हसनलाई लाहोरस्थित कार्यालयमा बोलाएको हो । गत जुलाई २८ मा सर्वोच्च अदालतले ब्युरोलाई सरिफ, उनका दुई छोरा, ज्वाइँर नातेदार वित्तमन्त्री इसार डारविरुद्ध अनुसन्धान गर्न आदेश दिएको थियो ।

विदेश

आक्रमणमा ७ मारिए

छोटकरी

ग्वाटेमाला सिटी (रोयटर्स)– ग्वाटेमालाको एक अस्पतालमा शंकास्पद गिरोहको आक्रमणमा ७ जनाको ज्यान गएको छ । आक्रमणमा परी १२ घाइते भएका छन् । प्रहरी प्रवक्ता जर्ज अगुइलरका अनुसार एनर्डसन डानियल काब्रेरालाई उपचारका लागि रुजबेल्ट अस्पताल पुर्‍याउनेबित्तिकै गिरोहका सदस्यहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । आक्रमणपछि काब्रेरा भाग्न सफल भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ७ मध्ये ५ आक्रमणकारीलाई प्रहरीले हतियारसहित पक्रेको छ ।

विदेश

ट्रम्पको आलोचना

छोटकरी

न्युयोर्क (एजेन्सी)–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्यार्लोटभलमा भएको हिंसाबारे दिएको प्रतिक्रियाबारे देशभित्र र बाहिर व्यापक आलोचना भएको छ । ट्रम्पले उग्र दक्षिणपन्थी प्रदर्शनकारी र उनीहरूका विरोधीबीच भएको झडपका लागि दुवै पक्ष जिम्मेवार रहेको प्रतिक्रिया दिएका थिए । उनको प्रतिक्रियाको विरोधमा दुई सल्लाहकार समूहका अग्रणी व्यवसायीहरूले राजीनामा दिएका छन् । विकसित पछिल्लो घटनाक्रमले ट्रम्पलाई देशमा रोजगारी बढाउने र नयाँ उद्योगहरू स्थापना गर्ने चुनावी वाचा पूरा गर्न कठिनाइ हुने देखिन्छ । पूर्वअमेरिकी राष्ट्रपतिहरू जर्ज बुस र उनका छोरा जर्ज डब्लू बुसले अमेरिकी नागरिकलाई जातिवाद र यहुदीविरोधी धारणा अस्वीकार गर्न विज्ञप्तिमार्फत अपिल गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जातीय घृणा र द्वेषलाई विश्वबाटै निर्मूल पार्नुपर्ने धारणा व्यक्त गरेका छन् । बेलायती प्रधानमन्त्री टेरिजा मेले हिंसाप्रति अमेरिकी राष्ट्रपतिले दिएको अभिव्यक्तिको आलोचना गरिन् । । उनले फाँसीवादी र विपक्षीबीच नैतिक समानता असम्भव भएको बताइन् ।

विदेश

भिडन्तमा ३७ को मृत्यु

छोटकरी

काराकस (रोयटर्स)– दक्षिणी भेनेजुएलाको एक कारागारमा भएको झडपमा ३७ जनाको मृत्यु भएको छ ।
अमाजोनस राज्यको राजधानीको कारागारमा भएको झडपका क्रममा १४ जना सुरक्षाकर्मीहरू घाइते भएका छन् ।

विदेश

अधिकारीहरूले दुई समूहबीचको

छोटकरी

भिडन्तमा मारिने सबै कैदीहरू भएको बताएका छन् । स्थिति नियन्त्रणमा लिन आन्तरिक मन्त्रालयको विशेष फौज परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Page 13
समाचार

बल नेपालको ‘कोर्ट’ मा छाडेर फर्के वाङ

- चन्द्रशेखर अधिकारी

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधि तथा उपप्रधानमन्त्री वाङ याङ नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनको बल नेपालको ‘कोर्ट’ मा छाडेर स्वदेश फर्केका छन् । उनको तीनदिने औपचारिक भ्रमणले नेपाल–चीन सम्बन्धमा आर्थिक सहकार्यका लागि ‘नयाँ ढोका’ खोलेको यस क्षेत्रका विज्ञहरूको भनाइ छ । भ्रमणबाट चीनले छिमेकीसँग गर्ने व्यवहारमा ‘राजनीतिक शैली’ मा अघि बढ्न सक्ने सन्देश दिएको पनि विज्ञहरू बताउँछन् । भुटान र चीनको सीमालाई लिएर भारत र चीनबीच तनाव भइरहेको अवस्थामा चिनियाँ उच्च नेतृत्वबाट भएको नेपाल भ्रमणले दुईपक्षीय सहकार्य र सम्भावनाका आधार खडा हुनुका साथै नेपालले अघि बढाएको कूटनीतिक तटस्थताको कदरसमेत भएको छ । उपप्रधानमन्त्री वाङ ग्वाङजाओ–वाङडोङ मोडलका एक प्रमुख अभियन्ता हुन् । उनी निकै शक्तिशाली र महत्त्वपूर्ण नेताका रूपमा चीनमा उदाइरहेका छन् । ‘राष्ट्रपति सीसँग सीधा सम्पर्कमा रहने व्यक्तिले तीन दिन बिताउनुले नेपाललाई चीनले कति महत्त्व दिएको छ भन्ने स्पष्ट हुन्छ,’ पेकिङ विश्वविद्यालयमा कूटनीतिक इतिहास र भूराजनीतिमा विद्यावारिधि गरिरहेका भास्कर कोइराला भन्छन्, ‘यो समय निकै क्रुसियल छ, दोक्लमको विषयलाई लिएर भारत र चीनबीच तनाव छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत निस्कनु केही दिनअघि यो भ्रमण भएको छ । यसबाट पनि भ्रमणको वास्तविकता झल्किन्छ ।’ उनले यो स्तरको भ्रमण हुनु नै अर्थपूर्ण हो भन्दै कोइरालाले कूटनीतिक शालीनता देखाए पनि एक्लाएक्लै भेटको शृंखलाले चीन नेपालमा अर्को छिमेकीको शैलीमा अघि बढ्न लागेको त होइन भन्ने सन्देश गएको पनि बताए । ‘चीन पनि नेपालको आन्तरिक राजनीतिमा सीधा आउनु मुलुकका लागि राम्रो
हँुदैन,’ उनले भने, ‘यो लामो समयसम्म जान सक्दैन ।’ पुरानो शैलीभन्दा चीनले नयाँ कूटनीतिक शैली अघि बढाएको त होइन भन्ने सन्देश यो भ्रमणबाट लिन सकिने धारणा कोइरालाको छ । नेपालले दुवै देशलाई कूटनीतिक विश्वासमा लिन सक्नुपर्ने बताउँदै उनले भने, ‘नेपाल यसमा अहिले खारिएको देखेको छु । नेपालले दोक्लम विषयमा तटस्थताको नीति लिनु र चीनले यो विषय नउठाउनु आफंैमा सकारात्मक हो ।’ घुमाउरो शैलीमा सन्देश दिए पनि चीनले सीधा दोक्लमको विषय उठाएको बाहिर आएको छैन । नेपालले पनि चीनलाई दिएको सम्मान निकै अर्थपूर्ण रहेको बताउँदै कोइरालाले भने, ‘उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराका साथै अर्का मन्त्रीले पनि विमानस्थलबाट सँगै बिदाइ गर्नुले नेपालले चीनलाई दिएको महत्त्व र सम्मानको पनि ठूलो अर्थ रहन्छ ।’चीनले यसअघि भएका सहमति र सम्झौताअघि बढाउने र तातोपानी नाका खोल्ने जस्ता विषयमा जोड दिनु नेपालका लागि सकारात्मक हुने मानिएको छ । चीनका लागि राजदूत रहिसकेका डा. महेश मास्के भन्छन्, ‘चीनसँग सहकार्य गर्दै काम कसरी अघि बढाउने त्यो नेपालले आफैं गर्न सक्नुपर्छ । खाका प्रस्ताव गर्ने काम नेपालको हो । भएका सम्झौता कहाँ पुग्यो, कसरी अघि बढाउने भन्नेमा नेपालले जोड दिन आवश्यक छ ।’ पहिलेदेखि नेपालले जोड गर्दै आएको नाका अन्तर्राष्ट्रियस्तरको बनाउने जस्ता विषय पनि आफंैमा अर्थपूर्ण रहेको डा. मास्केले बताए । ‘यो सकारात्मक पक्ष
हो । गम्भीर गृहकार्य हामीबाट हुन आवश्यक छ,’ डा. मास्केले भने, ‘दोक्लमको विषय उठ्छ कि भन्ने धेरैलाई लागेको थियो । तर उठाएनन् यसबाट स्पष्ट हुन्छ, नेपालले लिएको तटस्थताको नीतिमा चीन खुसी छ । चीनले दबाब होइन,
नेपाली नेतृत्वको विवेक नै खोज्ने हो ।’ प्रधानमन्त्रीको भारत भ्रमणमा पनि नेपाल चिप्लन नहुने सुझाव डा. मास्केको छ । तीनदिने बसाइमा वाङ राजनीतिक र रणनीतिक भेटघाटमा निकै सक्रिय रहे । अधिकांशलाई उनले आफू
बसेको होटल सोल्टीमै भेटे । दुईपक्षीय उच्चस्तरीय वार्ता पनि होटलमै गरे । नेपाल र चीनबीच भएका यसअघिका सहमति र सम्झौता अघि बढाउन तीन फरक–फरक सम्झौतामा हस्ताक्षर भए । शिष्टाचार भेटका लागि उनी बालुवाटार र शीतल निवास पुगे । सबै भेटमा उनले चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको भन्दै विकास प्रक्रियामा सघाउन र लगानी गर्न सधैं तयार रहेको बताए । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र केपी ओलीसँगको भेटमा उनले नेपाल र चीनको सम्बन्ध तथा दलीय सम्बन्धलाई स्मरण गर्दै भनेका थिए, ‘राजनीतिक स्थायित्व दलीय सहकार्यबाट हुनेछ । यसमा नेपाल अघि बढेको छ । राजनीतिक स्थायित्वपछि नेपाल–चीन सम्बन्ध झन् उचाइमा पुग्नेछ ।’ वाङ आउनु पाँच दिनअघि मात्र परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन नै गरेर भारत र चीनको मामिलामा नेपाल तटस्थ बसेको जानकारी दिँदै शान्तिपूर्ण वार्ताका लागि दुवै मुलुकलाई आग्रहसमेत गरेको थियो । उनी आउनु दुई दिनअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि शीर्ष नेतृत्वलाई भेटेर फर्केकी थिइन् ।

Page 14
देश

‘सबै माओवादी एक हुन्छन्’

जनकपुर (कास)– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुराना माओवादी केही दिनभित्रै एकीकृत हुने बताएका छन् । सहिद चन्देश्वर मण्डलको बाह्रौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बिहीबार उनले यस्तो दाबी गरेका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीका कारण आएको हो, अग्रगमनका सूत्रधार एकबद्ध हुनुको विकल्प छैन,’ उनले भने । माओवादी केन्द्र हुँदै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा गएका पूर्वमन्त्री रामचन्द्र झा, पूर्वसभासद रामकुमार शर्मा तथा पूर्वमन्त्री महेन्द्र पासवानलगायत नेता चाँडै केन्द्रमै फर्कने दाहालले दाबी गरे । ‘वैद्य, बाबुराम तथा विप्लव पनि माओवादीमा फर्किंदै छन् । सबैलाई एकीकृत गर्ने अभियान सुरु गरिसकेको छु,’ उनले भने ।
मुलुकमा पहाड र मधेसका नाममा अतिवाद हावी रहेको उल्लेख गर्दै दाहालले आफ्नो पार्टी दुवैको विपक्षमा रहेको बताए । आफ्नो पार्टी संविधान संशोधनसँगै मधेसको पहिचान तथा अग्रगमनको पक्षमा रहेको जनाउँदै उनले असोज २ गते हुने स्थानीय निर्वाचनमा पहिलो बन्ने दाबी गरे ।
जनमुक्ति चोकका पाँच सहिद दाहालले बिहीबार मिथिलेश्वर गाउँको जनमुक्ति चोकमा पाँच सहिदका प्रतिमा अनावरण गरेका थिए । नवनिर्मित सहिद स्मृति पार्कमा सहिद चन्देश्वर मण्डलसहित क्रान्ति भन्ने दीपनारायण दाहा, बेचन यादव, सुन्दर साह र देवनारायण प्रतिहस्तलगायत सहिदका प्रतिमा राखिएको छ । मण्डललाई बाह्र वर्षपहिले एकीकृत सुरक्षा फौजले बघचौडा बाजारमा घेरा हाली गोली होनेको थियो । दाहा र साहको मिथिलेश्वर चोकमा प्रहरीसँग भिडन्तमा मृत्यु भएको थियो ।

देश

सातामा २ सयभन्दा बढी बिरामी

रुकुम (कास)– आठबिसकोट नगरपालिका–३ खदीमा एक सातामा २ सयभन्दा बढी बिरामी परेका छन् । नगर प्रमुख गोर्खबहादुर केसीले टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, बान्ता हुनेजस्ता लक्षणका कारण गाउँका अधिकांश सर्वसाधारण बिरामी परेको बताए । दैनिक भिन्नभिन्न लक्षण बिरामीमा देखिएको उनले बताए ।
हरेक दिन बिरामी बढ्दै गएपछि आठबिसकोट नगरस्तरीय स्वास्थ्य संस्थाबाट २ जना स्वास्थ्यकर्मीसहितको टोली औषधि लिएर खदीतर्फ गएको केसीले बताए । जिल्ला अस्पतालका महामारी नियन्त्रण कार्यक्रमका फोकल पर्सन नन्दलाल महतोले एक्कासि धेरै जनामा ज्वरो आएकाले आवश्यक औषधिसहित स्वास्थ्यकर्मी पठाइएको बताए । ‘बिना कुनै जाँच अनुमानका भरमा औषधि पठाइएको छ,’ उनले भने, ‘त्यो औषधि उक्त रोगका लागि फिट हुने हो वा होइन, भए पनि एक जनाले मात्रै बोकेको औषधिले कति जना बिरामीलाई पुग्ने हो, समस्यै छ ।’
यसलाई तत्काल नियन्त्रणमा ल्याउन नसके महामारी फैलने त्रास रहेको केसीले व्यक्त गरे । ‘यसअघि पनि पटक/पटक झाडापखालाको महामारी फैलिएको उक्त ठाउँमा फेरि पनि त्यस्तो नहोला भन्न सकिन्न,’ उनले भने, ‘त्यसैले तत्कालै अर्काे उपायको खोजीमा हामी लागिपरेका छौं ।’ केसीले शुक्रबारसम्म केन्द्रबाटै डाक्टर र औषधि लिएर खदी पुग्ने तयारी भइरहेको बताए । गृह मन्त्रालयसँग हेलिकप्टर भनिएको र त्यसैबाट बिरामीको जाँच गर्न केन्द्रबाटै चिकित्सक र औषधि ल्याउने तयारी भइरहेको उनले बताए । खदी सडक सञ्जालसँग नजोडिएकाले जिल्ला सदरमुकाम खलंगाबाट २ दिनको पैदलयात्रापछि मात्रै त्यहाँ पुग्न सकिन्छ ।

Page 15
अर्थ वाणिज्य

प्राधिकरणको घाटा ९७ करोडमा झर्‍यो

- कान्तिपुर संवाददाता

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको खुद नोक्सानी ९७ करोड रुपैयाँमा झरेको छ । प्राधिकरणको वार्षिकोत्सवका अवसरमा दिइएको जानकारीअनुसार गत वर्ष उक्त नोक्सानी ८ अर्ब ८९ करोड रुपैयाँ थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आर्थिक वर्ष २०७३/७४ मा खुद नोक्सानी भए पनि धेरै वर्षपछि सञ्चालन नाफा भएको छ । यस वर्ष २ अर्ब ४० करोड रुपैयाँ प्राधिकरणले सञ्चालन नाफा गरेको छ । ‘विद्युत् चुहावट नियन्त्रण, आयातित बिजुलीको मूल्यमा स्थिरता, मूल्य समायोजन, ठूला सहरहरूमा भएको नियमित विद्युत् आपूर्ति र वित्तीय पुन:संरचनाका कारण नोक्सानी घटाउन सकिएको हो,’ कार्यकारी निर्देशक घिसिङले भने । यस अवधिमा २५.७८ प्रतिशत रहेको चुहावट दरलाई २२.९० प्रतिशतमा झारिएको जानकारी पनि घिसिङले दिए । चुहावट करिब ३ प्रतिशत विन्दुले घटेको छ । तर, प्राधिकरणको सञ्चालन नाफा र खुद नोक्सानीमा भएको ठूलो गिरावटको मुख्य कारण भने गत वर्ष बढाइएको महसुल हो । गत वर्ष भदौमा विद्युत् महसुल २० प्रतिशत बढाइएको थियो । यसैगरी एक वर्षमा प्राधिकरणका ग्राहक संख्या २९ लाखबाट बढेर ३२ लाख ६० हजार पुगेको जानकारी पनि उनले दिए । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् प्राधिकरणलाई दुहुनो गाईका रूपमा हेर्दा घाटा भएको बताएका छन् । प्राधिकरणको २३ औं वार्षिकोत्सवको उद्घाटन गर्दै उनले प्राधिकरणमार्फत सबैले आफ्नो दुनो सोझयाउने सोच बनाउँदा घाटामा गएको दाबी गरे । ‘प्राधिकरणलाई दुहुनो गाईका रूपमा हेर्ने गरिन्छ । त्यही सोचले घाटामा छ । गत वर्षमा घाटा केही न्यूनीकरण भए पनि अघिल्लो वर्ष करिब ९ अर्ब नोक्सान थियो,’ मन्त्री शाहीले भने, ‘सबैले चुस्ने सोच बनाउँदा प्राधिकरणको अन्त हुन सक्छ ।’ प्राधिकरण व्यापारिक संस्था भए पनि बर्सेनि घाटामा गएको भन्दै उनले आक्रोश पोखे । ‘प्राधिकरणको जस्तै अधिकार भएका निजी संस्थानहरू नाफामा छन् । तर, सरकारी संस्थान कसरी घाटामा गयो । घाटाको जिम्मा कसले लिने,’ उनले भने, ‘यससम्बन्धमा गम्भीर छानबिन हुनु आवश्यक छ ।’ चुहावटलाई शतप्रतिशत नियन्त्रण गर्न नसक्दा घाटा व्यहोरेको उनको भनाइ थियो ।कर्मचारीको लापरबाहीले ट्रान्सफर्मर पड्किने गरेको उनले बताए । कमिसनका लागि सामान खरिद र ट्रान्सफर्मर फेलबदल हुने गरेको उनले बताए । ‘अबदेखि जहाँको ट्रान्सफरर्मर पड्कन्छ त्यसको जवाफदेही सम्बन्धित क्षेत्रको प्रमुख हुन्छ,’ उनले भने, ‘ट्रान्समिटर पड्केको ठाउँमा तत्काल छानबिन गर्छौं ।’ प्राधिकरणको विकासका लागि ऐन कानुन परिमार्जन आवश्यक रहेको उनले बताए । कार्यकारी निर्देशक र केही कर्मचारीको संघर्षले लोडसेडिङमुक्त भइरहेको बताए । ‘काठमाडौंमा नयाँ इतिहास रचेको छ,’ उनले भने । यस्तै वार्षिकोत्सवको अवसरमा उनले प्राधिकरणमा महसुल बुझाउन आउने सर्वसाधारणलाई नमस्कार गर्न निर्देशन दिए । मुलुकभरका प्रत्येक काउन्टर अघि खानेपानीका साथै ट्वाइलेटको व्यवस्था गर्न पनि निर्देशन दिए । सेवाग्राहीलाई सुविधाका लागि आवश्यक स्थानमा बेन्च राख्न, पान खाएर थुक्ने प्रवृत्ति अन्त्य गर्न, सबै कार्यालय एउटै रङको बनाउन पनि उनले प्राधिकरणलाई निर्देशन दिए । ‘म देख्दै छु, कोठा–कोठामा चिया, खाना पकाउने गरिएको छ । त्यस्तो कार्य तुरुन्त बन्द गरियोस्,’ उनले भने, ‘अब छुट्टै क्यान्टिनको व्यवस्था हुनुपर्छ ।’ अबको १० दिनभित्रै आफूले दिएको निर्देशन कार्यान्वयन भयो/भएन अनुगमन गर्ने उनले बताए । मन्त्री शाहीले प्राधिकरणले तत्काल गर्ने कार्यका सम्बन्धमा ३४ बुँदे श्वेतपत्र जारी गरेको बताए । ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष अनुपकुमार उपाध्यायले प्रसारण तथा वितरणलाई आधुनिकीकरण गरेर लैजानुपर्ने बताए । यसका लागि निजी कम्पनीको निर्माण पनि अपरिहार्य भएको बताए । अघिल्लो वर्षमा चुहावट नियन्त्रण, आयातित विद्युत्को कुशल व्यवस्थापनले उपत्यका लोडसेडिङमुक्त भएको बताए । आगामी दिनमा थप सुधार गर्न सबैको सहयोग आवश्यक रहेको उनले बताए । ‘उच्च भोल्टेजको विद्युत् निर्माणमा ढिलासुस्ती भएको छ। प्राकृतिक प्रकोपले थप जटिलता थपेको छ,’ सचिव उपाध्यायले भने, ‘विद्युत् संकटलाई दीर्घकालीन रूपमा अन्त गर्न सबै एकजुट हुन आवश्यक छ । निर्माणाधीन आयोजनाहरूको निर्माण समयमै सक्नुपर्छ ।’

अर्थ वाणिज्य

अन्तर बैंक निक्षेप सीसीडीमा गणना नहुने

कृत्रिम निक्षेप संकलन गर्न नपाइने
- यज्ञ बञ्जाडे

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले अन्तर निक्षेपलाई पुँजी निक्षेप तथा कर्जा अनुपात (सीसीडी) मा गणना गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशिका ०७४ मार्फत यस्तो निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाबीच आपसमा हुने निक्षेप लेनदेनलाई अन्तर बैंक कारोबार भनिन्छ । राष्ट्र बैंकले केही वर्षअघि नै यस्तो व्यवस्था ल्याउन चाहे पनि सकेको थिएन । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप दोहोरो गणना नहोस् भन्ने उद्देश्यले यो व्यवस्था ल्याइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हालै जारी गरेको एकीकृत निर्देशिकामा भनिएको छ, ‘सीसीडी रेसियो गणना गर्दा अन्तरबैंक निक्षेपलाई स्रोतमा परिचालन गर्न पाइने छैन ।’ अन्तर बैंक निक्षेप पनि सीसीडीमा गणना गर्ने सुविधा प्राप्त हुँदा बैंक तथा वित्तीय संस्थाले आपसमा एउटा संस्थाको निक्षेप अर्को संस्थामा जम्मा गरेर उच्च ब्याज प्राप्त गर्नुका साथै राष्ट्र बैंकको निर्देशनबाट पनि जोगिँदै आएका थिए । नयाँ निर्देशिका आएपछि बैंक तथा वित्तीय संस्थाले मिलेमतोमा अन्तर बैंक कारोबार गरेर निक्षेप बढाउने र सीसीडी रेसियोलाई निर्देशित सीमाभित्रै राख्न नसक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाको यस्तो गतिविधि रोक्ने उद्देश्यले अन्तर बैंक निक्षेप सीसीडीमा गणना गर्न नपाउने व्यवस्था ल्याइएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए ।‘यो व्यवस्थापछि बैंकहरूले कृत्रिम निक्षेप देखाएर राष्ट्र बैंकको निर्देशनबाट जोगिन पाउँदैनन्,’ उनले भने, ‘यसले विगतमा धेरै समस्या आएको थियो, त्यसलाई रोक्न नयाँ व्यवस्था ल्याइएको हो ।’ वित्तीय प्रणालीमा रहेको निक्षेप दोहोरो गणना हुने प्रवृत्ति रोक्न पनि यो निर्देशन आएको सहप्रवक्ता पण्डितले बताए ।
बैंकहरूबीच निक्षेपको लेनदेन हुनु सामान्य प्रक्रिया हो । यसअघि खासगरी साना वित्तीय संस्थाले संकलन गरेका निक्षेप ठूला वित्तीय संस्थामा बचतका रूपमा राखेर ब्याज आर्जन गर्दै आएका छन् । यो प्रक्रियामा खासगरी विकास बैंक र फाइनान्स कम्पनीहरू बढी सक्रिय छन् । विकास बैंक र फाइनान्स कम्पनीको मुनाफाको ठूलो हिस्सा यस्तो ब्याज आम्दानीबाट आउने गरेको जानकारहरू बताउँछन् । ‘विकास बैंक र फाइनान्स कम्पनीको कुल आम्दानीको करिब एक चैथाइ अन्तर बैंक निक्षेपको ब्याजबाट कमाउँछन्,’ स्रोतले भन्यो, ‘नयाँ व्यवस्थाले विकास बैंक र फाइनान्स कम्पनीको आम्दानीको ठूलो स्रोत बन्द हुन्छ ।’
नयाँ व्यवस्थाले खासगरी साना वित्तीय संस्थाहरूलाई निक्षेपबाट उच्च ब्याज प्राप्त गर्ने र कर्जा प्रवाहमा जाँगर नगर्ने प्रवृत्ति निरुत्साहित हुने बताइएको छ । यसैगरी थोरै निक्षेप भएका केही वाणिज्य बैंकहरूले पनि साना वित्तीय संस्थालाई आफैं अन्तरबैंक कर्जा दिने र उक्त कर्जाको ठूलो हिस्सा निक्षेपका रूपमा आफ्नो बैंकमा राख्न लगाएर सीसीडी अनुपात निर्देशित सीमामा राख्दै आएका थिए । सीसीडी अनुपात ८० प्रतिशत तोकिएको छ । नयाँ व्यवस्थाले बैंकहरूको त्यस्तो काम रोकिने स्रोतको दाबी छ । यो व्यवस्थापछि आधा दर्जनभन्दा बढी वाणिज्य बैंकहरूलाई समस्या भएको बताइएको छ । स्रोतका अनुसार वाणिज्य बैंकहरूको कुल निक्षेपको करिब ४ प्रतिशत निक्षेप बैंक तथा वित्तीय संस्थाको छ । उक्त निक्षेप सीसीडीमा गणना गर्न नपाउने भएपछि ती बैंकहरूको सीसीडी रेसियोमा चर्को दबाब पुग्छ ।
अन्तर बैंक निक्षेप सीसीडीमा गणना गर्न नपाउने व्यवस्था राम्रो भएको र यसले वित्तीय प्रणालीलाई स्वच्छ र पारदर्शी बनाउने बैंकर्स संघका कार्यकारी सदस्य भुवन दाहालले बताए । ‘यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो तर यो व्यवस्था कार्यान्वयनका लागि केही समय आवश्यक पर्छ,’ उनले भने । व्यवस्था राम्रो भए पनि आजको भोलि नै कार्यान्वयन गर्न अप्ठयारो हुने उनको भनाइ छ । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल पनि नयाँ व्यवस्थाले वित्तीय स्थायित्व कायम गर्न सहयोग पुग्ने बताए । ‘सुरुमा केही अप्ठयारो भए पनि दीर्घकालमा राम्रो हुन्छ,’ उनले भने ।

Page 16
अर्थ वाणिज्य

सुनसरी मोरङका उद्योग सञ्चालन हुन थाले

विराटनगर (कास)– भलबाढीका कारण साताअघिदेखि बन्द भएका सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालन हुन थालेका छन् । डुबान घटदै गएपछि काटिएको विद्युत् लाइन जोडिएकाले उद्योग खुल्न सुरु भएको हो । वर्षासँगै आएको बाढी अधिकांश उद्योगहरूमा पसेका कारण करिडोरका ५ सय उद्योग बन्द भएका थिए । बिहीबार यस क्षेत्रका करिब २० प्रतिशत उद्योग सञ्चालनमा आएका छन् । ‘शुक्रबार काटिएको विद्युत् लाइन बल्ल बिहीबार दिउँसोबाट उद्योगमा आएको छ,’ उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले भने, ‘कम डुबानमा परेका उद्योग खुल्न थालेका छन् ।’ सबै उद्योग पूर्ण रूपमा सञ्चालनमा आउन महिना दिन लाग्ने उपाध्यायले बताए । नेपाल विद्युत् प्राधिकरणको दुहबी ग्रिडमा पानी जमेका कारण मंगलबार रातिबाट केही क्षेत्रमा विद्युत् सुचारु भए पनि बिहीबार मात्र उद्योगहरूलाई दिएको हो । मोरङका बूढीगंगा गाउँपालिका, विराटनगर महानगरपालिका, कटहरी गाउँपालिकालगायत क्षेत्रका उद्योगहरू डुबानमा परेका हुन्। यसैगरी सुनसरीका इटहरी उपमहानगरपालिका, दुहबी भलुवा नगरपालिकालगायत क्षेत्रका उद्योगहरू पनि क्षति पुगेको छ । खोला छेउका उद्योगमा बढी क्षति पुगेको उनले बताए । पानीले इँटा उद्योगमा समेत नोक्सानी पुर्‍याएको छ ।

 

अर्थ वाणिज्य

सिप्रदीद्वारा सोल्टीलाई हाई लिफ्टस च्याम्प

छोटकरी

काठमाडौं (कास)– सिप्रदी ट्रेडिङ प्रालिले सोल्टी क्राउन प्लाजालाई हाई लिफ्टस क्याटरिङ च्याम्प हस्तान्तरण गरेको छ । टाटा मोर्टसको बिक्रेता सिप्रदीले हवाईजहाजभित्र खाना ढुवानी गर्न प्रयोग गर्न सकिने उक्त च्याम्प सोल्टीलाई बुधबार हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ । ‘टाटा १६१३’ को च्यासिसमा निर्मित उक्त च्याम्पस अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुुसार तयार गरिएको कम्पनीको दाबी छ । तीन हजार केजीसम्मको वजन बोक्न सक्ने क्षमता रहेको उक्त गाडी चलाउन र मर्मत गर्न सजिलो रहेको कम्पनीले जनाएको छ ।

 

अर्थ वाणिज्य

भायनेटको ‘सुपर भ्याल्यु’ अफर

छोटकरी

काठमाडौं (कास)– भायनेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नयाँ सुपर भ्याल्यु अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले कम मूल्यमा बढी इन्टरनेट स्पिड प्राप्त गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । यो अफरसँगै भ्यायनेटले पहिलोपटक ३० एमबीपीएसको अनलमिटेड इन्टरनेटसमेत बजारमा ल्याएको जनाएको छ । सुपर भ्याल्यु अफरलाई ६ एमबीपीएस, १२ एमबीपीएस र ३० एमबीपीएसमा विभाजन गरिएको कम्पनीले जनाएको छ । यो अफरमा वार्षिक ग्राहकहरूले ६ एमबीपीएस स्पिडको अनलमिटेड इन्टरनेटको लागि १ हजार ९९, १२ एमबीपीएस स्पिडका लागि १ हजार २ सय ५० र ३० एमबीपीएस स्पिडका लागि १ हजार ४ सय ५० रुपैयाँ तिर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

 

अर्थ वाणिज्य

हुवावेलाई ईआईएसए अवार्ड

छोटकरी

काठमाडौं (कास)– हुवावे कन्जुमर बिजनेस ग्रुप (सीबीजी) ले युरोपियन इमेज एन्ड साउन्ड एसोसिएसन (ईआईएसए) अबार्डले सम्मानित भएको छ । ग्रुपले ‘हुवावे पी १०’ का लागि ‘ईआईएसए स्मार्टफोन क्यामेरा २०१७–२०१८’ अवार्ड पाएको चीनको सेन्झेनबाट जारी विज्ञप्तिमा उल्लेख छ । हुवावे पी सिरिजका लागि कम्पनीले लगातार पाँचौंपटक ईआईएसए अवार्ड जित्न सफल भएको हो । सन् २०१७ मा हुवावे पी १० ले पहिलो क्यामेराका लागि समेत सम्मानित भएको कम्पनीको विज्ञप्तिमा छ । सन् २०१३ मा कम्पनीले हुवावे पी सिजिरका लागि ‘बेस्ट कम्ज्युमर स्मार्टफोन’ अबार्ड जित्न थालेको हो, जुन लगातार यो वर्ष जितेको जनाएको छ ।

 

अर्थ वाणिज्य

एनएमबी र मेटलाइफबीच सम्झौता

छोटकरी

काठमाडौं (कास)– एनएमबी बैंकले बैंकास्युरेन्स सेवाका लागि मेटलाइफ इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ । सम्झौतापछि एनएमबीले शाखाबाट ग्राकहलाई सरल, सुलभ र उत्कृष्ट सेवासहित मेटलाइफको जीवन बिमा योजनाहरू उपलब्ध गराउने जारी विज्ञप्तिमा छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र मेटलाइफका भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।

 

अर्थ वाणिज्य

ओप्पोको ‘एफसी बार्सिलोना’

छोटकरी

काठमाडौं (कास)– ओप्पोले आफ्नो एफथ्री मोडलअन्तर्गत ‘एफसी बार्सिलोना’ लिमिटेड एडिसन सार्वजनिक गरेको छ । मिड रेन्ज्ड बजार लक्षित अत्याधुनिक प्रविधि, नव प्रवर्तनात्मक फिचर्सका साथै आकर्षक स्पोर्टी लुक्स र डिजाइनले सुसज्जित लिमिटेड एडिसन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । डुअल (दुईवटा) फ्रन्ट क्यामेरासहितको फोनमा सेल्फीका लागि १६ मेगापिक्सेल क्षमताको र सामूहिक सेल्फीका लागि वाइड एंगल लेन्सको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसको मूल्य ३४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

अर्थ वाणिज्य

एनआईसीको डबल डिपोजिट योजना

छोटकरी

काठमाडौं (कास)– एनआईसी एसिया बैंकले ग्राहकका लागि ‘डबल डिपोजिट’ नामक नयाँ निक्षेप योजना ल्याएको छ । न्यूनतम १ लाख रुपैयाँ निक्षेपका साथ भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा ९ वर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा आफूले सुरुमा जम्मा गरेको रकमको नियमअनुसार संस्थागत निक्षेपको हकमा १५ प्रतिशत तथा व्यक्तिगत निक्षेपको हकमा ५ प्रतिशतका दरले ब्याज आम्दानीको स्रोतमा करकट्टीपछि बैंकले दोब्बर भुक्तानी दिने जारी विज्ञप्तिमा छ ।

 

अर्थ वाणिज्य

सिद्धार्थद्वारा शाखा विस्तार

छोटकरी

काठमाडौं (कास)– सिद्घार्थ बैंकले ताप्लेजुङ बजार, लम्जुुङको बेंसीसहर र राजधानीको गोकर्णेश्वर जोरपाटीमा बिहीबार शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखाहरूमार्फत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने जनाएको छ । नयाँ शाखासहित बैंकले देशभर ७५ शाखा, २ एक्स्टेन्सन काउन्टर, ९८ एटीएम, ७०
शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको जारी विज्ञप्तिमा छ ।

 

अर्थ वाणिज्य

टेलिकमको एक करोडभन्दा बढी एसएमएस आदानप्रदान

छोटकरी

काठमाडौं (कास)– नेपाल टेलिकमले बाढीपहिरोबाट पीडितहरूको उद्धार तथा राहतका लागि आवश्यक सहयोग पुर्‍याउन साउन २९ देखि ३१ सम्म आफ्नो नेटवर्कभित्र नि:शुल्क एसएमएस पठाउन सकिने व्यवस्था गरेकामा यस अवधिमा करिब १ करोड १२ लाख नि:शुल्क एसएमएस आदानप्रदान भएको जनाएको छ । कम्पनीका अनुसार साउन २९ मा १७ लाख ३० हजार, ३० मा ४७ लाख ५५ हजार र ३१ गते ४७ लाख १५ हजार एसएमएस आदानप्रदान भएका छन् ।

 

अर्थ वाणिज्य

लक्ष्मीको शाखा थपियो

छोटकरी

काठमाडौं (कास)– लक्ष्मी बैंकले रूपन्देहीको देवकोटाचोक र रामेछापको मन्थलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाहरूबाट बैंकले ग्राहकहरूलाई इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रादन प्रदान गर्ने जनाएको छ । अब बैंकका शाखा सञ्जाल ६८, ३ हस्पिटल सेवा काउन्टर, ८९ एटीएम, २५०० भन्दा बढी रेमिटयान्स अनि ४०० भन्दा बढी मोबाइल एजेन्टहरू पुगेको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

अर्थ वाणिज्य

गण्डकी विकास बैंक मनाङमा

छोटकरी

काठमाडौं (कास)– गण्डकी विकास बैंकले मनाङको चामेमा ५१ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथै एबीबीएस, एटीएम, एसएमएस, मोबाइल बैंकिङ, रेमिटयान्स सेवासहितको पूर्ण बैंकिङ सेवा सञ्चालन गरिएको जारी विज्ञप्तिमा छ ।

 

अर्थ वाणिज्य

वल्र्डलिंक नयाँबानेश्वरमा

छोटकरी

काठमाडौं (कास)– वल्र्डलिंकले राजधानीको नयाँबानेश्वरमा आफ्नो शाखा विस्तार गरेको छ । सेवालाई थप गुणस्तरीय, छिटो र छरितो बनाउने उद्देश्यले शाखा विस्तार गरेको जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार शाखाबाट ग्राहकले वल्र्डलिंकसँग सजिलै आबद्ध भई सेवा लिने र सजिलै नगद भुक्तानी गर्न सक्नेछन् । कम्पनीले भदौ ७ सम्म एक वर्षको इन्टरनेट सेवा अग्रिम बुकिङ वा जडान गर्ने ग्राहकलाई दुई महिना नि:शुल्क सेवा उपलब्ध गराइने पनि जनाएको छ ।

 

Page 17
अर्थ वाणिज्य

विराटनगर विमानस्थल सातायता बन्द

- कान्तिपुर संवाददाता

विराटनगर विमानस्थलमा जमेको माटो सफाइ गर्दै । तस्बिर : शम्भु पोखरेल/केटीभी

 

विराटनगर– बाढीको भेल पसेका कारण विराटनगर विमानस्थल एक सातादेखि अवरुद्ध छ । पानीको भेलसँगै हिलो र बालुवाले छोपिएपछि गत शुक्रबारदेखि विमानस्थल बन्द भएको थियो । विराटनगर विमानस्थलको रनवे, टयाक्सी वे, टर्मिनल भवन र सुरक्षा निकायको ब्यारेकमा चार फिटसम्म पानी जमेको थियो । वर्षा रोकिएसँगै विमानस्थलमा जमेको पानी बगेको छ । तर, रनवे र टयाक्सी वेमा एक फिटसम्म हिलो र लेदो थुप्रिएकाले समस्या भएको हो । मोरङको बूढीगंगा गाउँपालिकास्थित केसिलिया खोलाले सिँचाइको बाँध भत्काएपछि पानी पसेको थियो । नेपाली सेनाको सहयोगमा नागरिक उड्डयन कार्यालयले मंगलबारबाट हिलो र लेदो हटाउने कामलाई जारी
राखेको छ । शनिबारबाट विमानस्थल सञ्चालनमा आउने जनाइएको छ ।
नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहले विमानस्थल सफा गर्न जेसीबी, ग्रेडर, बोल्डर र हिलो फयाँक्ने टयाक्टरको प्रयोग गरिएको बताए । उनले शनिबार साँझसम्ममा सफा गर्ने काम सकिने बताए । काठमाडौंपछि जहाज बढी उडान र अवतरण हुने यो विमानस्थल अवरुद्ध भएपछि हजारौं यात्रु अलपत्र परेका छन् ।
रनवेमा जमेको हिलो र लेदोको कारण जहाजको अवतरण र उडानमा समस्या रहे पनि हेलिकोप्टरको उडान र अवतरण भने भइरहेको छ । विमानस्थलको हेलिप्याडमा पानीले खासै नोक्सानी नपुर्‍याएको उड्डयन कार्यालयले जनाएको छ । बाढीका बेला विमानस्थलमा पार्किङमा रहेको श्री एयरलायन्सको जहाज सातापछि बिहीबार उडेको छ । विमानस्थलको हावापानी मापन केन्द्रमा समेत पानी पसेर क्षति पुुगेको छ । क्षेत्रीय हावापानी मापन केन्द्रको सब–स्टेसनमा रहेको तापमापन यन्त्र, पानीको मात्रा नाप्ने यन्त्रमा समेत क्षति पुुगेको फिल्ड इन्चार्ज विकास देउजाले जानकारी दिए । यहाँबाट दैनिक उडान भर्दै आएका यती र सौर्य एयरले शनिबारबाट टिकट बुकिङ खुला गरेका छन् ।

 

अर्थ वाणिज्य

ठेकेदारको ढिलाइले हवाई सेवा अवरुद्ध

डोल्पा (कास)– जुफाल विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने ठेकेदारले ढिलाइ गर्दा दुई महिनादेखि उडान भएको छैन । एकै महिनामा कालोपत्रे सक्ने जिम्मा लिएको ठेकेदारले २ महिनामा पनि पूरा नगर्दा सडक सञ्जालले समेत नजोडिएको डोल्पामा जनजीवन प्रभावित भएको छ । विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने भन्दै असार १ देखि उडान बन्द गरिएको हो । कालोपत्रे अघिका सबै संरचना पूरा भएको भन्दै ठेकेदार पक्षले एक महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने भने पनि हालसम्म पूरा भएको छैन । ठेकेदारको ढिलाइका कारण एक मात्र यातायात सेवा बन्द भएपछि स्थानीयलाई सास्ती भएको छ । जरुरी कामले बाहिर जाने तथा बिरामीहरू हेलिकप्टरबाट एकतर्फी १५ देखि ३० हजार रुपैयाँसम्म भाडा तिरेर आवतजावत गर्न बाध्य छन् ।
नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले ठेकेदार पक्षको ढिलाइले दैनिक उपभोग्य सामानको अभाव हुन थालेको बताए । मिक्सर मेसिन १० दिनदेखि बिग्रेपछि कालोपत्रे गर्ने काममा झनै ढिलाइ भएको छ । मर्मतका लागि बाहिर पठाउनुपर्ने भएकाले कालोपत्रेको काममा ढिलाइ भएको ठेकेदार कम्पनीका प्रतिनिधि हिमबहादुर बुढाले बताए । उनका अनुसार भदौको २० सम्ममा हवाई उडान सुरु गर्ने गरी काम भइरहेको छ । डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न नेपाली सेनाले जाजरकोट–डोल्पा सडकको काम गरिरहेको छ । निर्माणाधीन सडकमा सिरिविन्डेदेखि धाउन्नेसम्म वैकल्पिक बाटो नभएकाले स्थानीयलाई आउजाउमा समेत समस्या छ । खच्चडमार्फत सामान ओसारपसारमा समस्या भइरहेको स्थानीय नरबहादुर बुढाले बताए । एकातिर सडक यातायातले नछुनु र अर्कोतर्फ वर्षाको समयमा हवाई यातायात बन्द भएपछि सास्ती भएको
उनको भनाइ छ ।

Page 18
अर्थ वाणिज्य

किमडाँडा दूधले समृद्ध बन्दै

- वीरेन्द्र केसी
  • पशुपालनबाट हुने आर्थिक लाभलाई बुझेका धेरै युवा यतिबेला विदेश छाडेर गाईपालनमा व्यस्त
  • परम्परागत प्रणालीलाई आधुनिकीकरण गर्दै व्यावसायिक तरकारी खेतीमा युवाको सहभागिता

अर्घाखाँची– किमडाँडाका बासिन्दाले पशुपालनसँगै दूधको बिक्री बढाएका छन् । यसबाट उनीहरूको आर्थिकस्तरमा परिवर्तन आएको छ । घरैपिच्छे जर्सी गाई र उन्नत नश्लका भैंसी पालेका छन् । अधिकांशका घरमा दुहुना टुटदैनन् । गाउँमै दूध संकलन केन्द्र छन् । त्यहीँ लगेर बिहान–बेलुका दूध बेच्छन् । दैनिक ८ सय लिटर दूध सन्धिखर्कका डेरीमा संकलन हुने गरेको छ । बजारमा दूधको माग अत्यधिक छ । पशुपालनबाट हुने आर्थिक लाभ बुझेका धेरै युवा यतिबेला विदेश छाडेर गाईपालनमा व्यस्त भएका छन् । दूध कृषक संगठित भई व्यवसायी बनेका छन् । गाउँभरिका किसानको दूध एक ठाउँमा संकलन गरेर सन्धिखर्क र चुत्राबेंसीका डेरी पसलमा बिक्री गरिन्छ । यहाँ सक्रिय दुग्ध उत्पादन र गाईपालन समूहमा आबद्ध ९० कृषकले पालेका गाईभैंसीको संख्या ३ सय ५० पुगेको छ । स्थानीय धर्मराज बञ्जाडेका अनुसार दुई समूह र आबद्ध नभएका कृषक गरी किमडाँडामा दूधबाट वार्षिक १ करोड २९ लाख ६० हजार रुपैयाँ बराबरको आम्दानी भित्रिने गरेको छ । ‘सुरुको जस्तो दूध बेच्न हिजोआज दु:ख छैन,’ बञ्जाडेले भने, ‘माग धेरै छ । पुर्‍याउनै सकिएको छैन । गोठमा काम गर्ने जनशक्ति कमीले माग पूरा गर्न सकेका छैनौं ।’ सदरमुकामबाट तीन किमिमा पर्ने गाउँमा दूध उत्पादनका लागि गाईभैंसी पाल्नको लहर नै चलेको छ । बञ्जाडेले पनि दैनिक ३५ लिटर दूध बेच्छन् । ‘विदेश गएर दु:ख पाएर फर्किएका केटाहरू धेरै मेहनत गर्छन्,’ अर्का कृषक गिरी सापकोटाले भने, ‘१० वर्ष पहिला यहाँ कोही बस्न मान्दैन्थे । जब दूध बेचेर राम्रो आम्दानी हुन थाल्यो, गाउँभर गाई पाल्नेको लहर नै चलेको छ ।’ गाउँको खेतबारी बेचेर कसैले बसाइँसराइँ गर्दैनन् । उनले गाई पाल्न थालेको १० वर्ष पुग्यो । दैनिक ३४ लिटर दूध बिक्री गर्छन् । दूध प्रतिलिटर ४५ रुपैयाँमा बिक्री हुन्छ । दूध बेचेर वर्षमा ५० हजारदेखि ५ लाख रुपैयाँसम्म कमाइ गर्ने कृषक रहेको उनले बताए । किमडाँडाका सापकोटाले विदेशी भूमिमा रोजगारीका लागि आठ वर्ष बिताएका थिए । विदेशबाट फर्किएपछि फेरि परदेश फर्किन उनलाई मन छैन । ‘विदेश गए धेरै पैसा कमाइन्छ भनेर लहर नै चलेको थियो,’ उनले भने, ‘होला त भनेर म पनि गएँ । धेरैले लोभ नै देखाए । आठ वर्षमा तीन देशमा दौडे पनि हात लाग्यो शून्यजस्तै भयो ।’ उनले यहीं दूध बेचेर महिनामा ३० हजार रुपैयाँसम्म आम्दानी हुने बताए । बेला–बेलामा पशु प्राविधिक गाउँमा आउने र बिरामी परेका पशुको उपचार गरिदिएपछि कृषकमा उत्साह बढेको उनले बताए ।

अर्थ वाणिज्य

श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती

-वन विभागबाट स्वीकृतिपछि श्रीखण्ड कटान मुछान पूरा गरेर सीधै व्यवसाय गर्न सकिने
-जिल्ला वन कार्यालयमा दर्तापछि रक्तचन्दन निजी वनका रूपमा दर्ता गरी व्यवसाय गर्न मिल्ने
- चित्रांग थापा
कञ्चनपुरको भीमदत्त नगरपालिका भासीका किसान फर्ममा लगाएको रक्तचन्दन देखाउँदै ।
तस्बिर : चित्रांग थापा/कान्तिपुर

महेन्द्रनगर– कञ्चनपुरका एक व्यवसायीले श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती सुरु गरेका छन् । उनले औषधिजन्य बिरुवाको माग र बजारको सम्भावनालाई देखेर गत वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको खेती थालेका हुन् । गत वर्ष भदौदेखि श्रीखण्डका १ सय र रक्तचन्दनका ४ सय बिरुवा रोपेर भीमदत्त नगरपालिका भासीका विजयराज पन्तले व्यावसायिक खेती सुरु गरेका हुन् । नेपालमै पहिलो व्यावसायिक खेती भएको उनको दाबी छ । पन्तले भारत बैंगलोरबाट तालिम लिएर श्रीखण्ड तथा रक्तचन्दनको पहिलो चरणमा ५ सय बिरुवा रोपेका हुन् । ‘छिमेकीसँग साझेदारीमा ७ कट्ठा जग्गा २० वर्षका लागि लिएको छु,’ उनले भने, ‘नर्सरीमा उमारेका बिरुवा गत वर्ष भदौमा रोपेकामा १ वर्षमै राम्ररी हुर्किएका छन् ।उनले यसको खेती गर्नुपूर्व वन विभागमा पुगेर कानुनी हिसाबबाट रक्त चन्दन र श्रीखण्डको निजी जग्गामा व्यावसायिक खेती गर्न मिल्ने नमिल्नेबारे जानकारी लिएको बताए । ‘वन विभाग खेती गर्न मिल्ने लिखित जानकारी प्राप्त भयो,’ उनले भने, ‘श्रीखण्डको हकमा कटान मुछान पूरा गरेर सीधै व्यवसाय गर्न सकिने रहेछ, रक्तचन्दनको हकमा भने जिल्ला वन कार्यालयमा निजी वनका रूपमा दर्ता गरी व्यवसाय गर्न सकिने कानुनी प्रावधान रहेछ ।’
कानुनी वैधताको प्रश्न समाधान भएपछि उनी बैंगलोरको इन्स्टिच्युट अफ उड साइन्स एन्ड टेक्नोलोजीमा पुगेर नर्सरी निर्माणदेखि वृक्षरोपणको फर्म तयार गर्ने तालिमसँगै बिउ ल्याएर व्यावसायिक खेतीमा जुटेका हुन् । ‘श्रीखण्ड १२ देखि १५ वर्षमा र रक्तचन्दन १८ वर्षमा पूर्ण रूपमा बिक्री गर्नलायक हुन्छ,’ उनले भने, ‘यसको माग र प्रमुख बजार भनेको चीनको तिब्बत हो, भारतमा ५ हजार रुपैयाँ प्रतिकिलो रहेको रक्त चन्दन तिब्बतमा १८ हजारसम्ममा बिक्री भइरहेको छ ।’ चीनमा औषधि बनाउन प्रयोग हुने गरेको उनी बताउँछन् ।नेपालको तराई क्षेत्र र भित्री मधेसको भूभाग रक्त चन्दन खेतीका लागि अत्यन्त अनुकूल रहेको पन्तले सुनाए । श्रीखण्ड भने पहाड, तराई हिमपात नहुने ठाउँमा जताततै लगाउन सकिने उनले अनुभव बताए । ‘धेरै लगानी पनि आवश्यक छैन,’ पन्तले भने, ‘मैले छिमेकीसँग सहकार्य गरी जमिन लिएको हुँ । पछि हुने फाइदा बराबर गर्ने सर्त छ ।’ उनले ५ सय बिरुवाको नर्सरी र फर्ममा रोप्दासम्म अढाइ लाख रुपैयाँ खर्च भएको बताए । उनले नर्सरीमा हुर्काएका बिरुवा प्रतिबोट ३ सयमा बिक्री भइरहेको जानकारी दिए । पन्त नेपालमा सरकारले नीतिगत रूपमै यसको व्यावसायिक खेतीका लागि प्रोत्साहित गर्नुपर्ने बताउँछन् । साबुन, धूप, तेल तथा धार्मिक कार्यका लागि श्रीखण्ड र रक्त चन्दनको माग बढ्दै गएकाले औषधिजन्य बिरुवाका रूपमा भारतमा झैं नेपालमा पनि खेती सुरु गरिनुपर्ने उनको सुझाव छ । उनले यसको व्यावसायिक खेतीका लागि बैंक पनि उदार हुनुपर्ने बताए । नेपालबाट चीनको तिब्बततर्फ हालका वर्षमा व्यापार बढ्दै गएको र सिमानासम्म सडक जोडिन लागेको अवस्थामा श्रीखण्ड र रक्तचन्दनको खेती व्यावसायिक रूपमा गर्नु लाभदायी हुने उनको सुझाव छ ।

अर्थ वाणिज्य

इलाममा ९५ प्रतिशत रोपाइँ सकियो

इलाम (कास)– साउनको अन्तिममा पर्याप्त वर्षा भएपछि जिल्लाका अधिकांश खेतमा रोपाइँ भएको छ । ढिलो गरी वर्षा भए
पनि इलाममा ९५ प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । धान रोप्ने मुख्य समयमा पानी नपरे पनि ढिलो गरी निरन्तर वर्षा भएपछि कृषकले सोही समयको मौकामा धान रोपेका हुन् । त्यसभन्दा अघि आकासेपानीको भर परेका कृषकको धान रोप्ने खेत बाँझै थियो । ब्याड राखेको धानको बेर्ना सुक्न थालेको थियो । सिँचाइको सुविधा नभएका बेंसी क्षेत्रका खेतमा साउनको तेस्रो सातामा रोपाइँ भएको हो । ढिलो गरेर रोपाइँ भएकाले यस वर्षधान उत्पादनमा केही कमी आउन सक्ने कृषि कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्लेले जानकारी दिए ।जिल्लामा १५ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । गत वर्ष ४९ हजार १ सय १ टन धान उत्पादन भएकोथियो । जिल्लाको माई नगरपालिका, चुलाचुली गाउँपालिका, देउमाई नगरपालिकालगायतका स्थानमा बढी धान उत्पादन हुने गरेको छ । असार र साउन रोपाइँका लागि उपयुक्त समय मानिए पनि सिँचाइको पर्याप्त सुविधा नहँुदा समस्या हुने गरेको किसानहरू बताउँछन् ।

 

Page 19
खेलकुद

‘पहिलो लक्ष्य सेमिफाइनल’

साफ यू–१५ फुटबल आजबाट
- कान्तिपुर संवाददाता

काठमाडौं– साफ यू–१५ फुटबल च्याम्पियनसिपमा घरेलु टोली नेपालले सुरुआती लक्ष्य सेमिफाइनल पुग्ने बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा शुक्रबार सुरु हुने प्रतियोगितामा दक्षिण एसियाका ६ टोलीले भाग लिँदै छन् ।सन् २०११ बाट सुरु यस च्याम्पियनसिपको पछिल्ला तीन संस्करण यू–१६ उमेरसमूहका आधारमा आयोजना भएको थियो । यसपल्ट भने सेप्टेम्बरमा हुने एएफसी यू–१६ प्रतियोगितालाई मध्यनजर गर्दै यू–१५ उमेरसमूहमा हुन लागेको हो ।नेपाल तीनै संस्करणमा सेमिफाइनल पुगेको छ । आफ्नै भूमिमा आयोजित दोस्रो संस्करणमा नेपाल भारतसँग फाइनलमा १–० ले पराजित भएको थियो । त्यो नै नेपालको उत्कृष्ट प्रदर्शन हो ।यसपल्ट नेपाल समूह ‘बी’ मा भारत र माल्दिभ्ससँगै परेको छ । समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन बंगलादेश, श्रीलंका र भुटान छन् । समूह विजेता र उपविजेता सेमिफाइनल पुग्ने छन् । सेमिफाइनल भदौ २७ र फाइनल भदौ २९ मा हुनेछ । नेपाली टोलीका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले घरेलु भूमिमा उपाधि जित्ने दबाब रहे पनि सुरुआती लक्ष्य सेमिफाइनल पुग्नु भएको बताएका छन् । नियमित कप्तान पृथ्वी चौधरी चोटका कारण अनुपस्थित हुने भएपछि टोलीलाई केही असहज हुने देखिएको छ । पहिलो रोजाइमा खेलिरहेका अर्का डिफेन्डर पदम भट्टराई पनि टोलीमा छैनन् । यद्यपि नयाँ खेलाडीको आगमनले टोली केही बलियो भएको छ । एकेडेमीको टोलीमा दुई महिनाअघि खुला छनोटबाट ७ खेलाडी थपिएका थिए । तीमध्ये ४ खेलाडीले प्रतियोगितामा स्थान पाएका छन् । एकेडेमीका अरु खेलाडी डेढ वर्षदेखि निरन्तर खेलिरहेका छन् ।दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को व्यवस्थापनमा हुने प्रतियोगिताको एउटा सेमिफाइनल र तेस्रो स्थानको खेल हल्चोकस्थित एपीएफ रंगशालामा हुने जनाइएको छ । शुक्रबार दिउँसो ३ बजे हुने खेलमा बंगलादेशले श्रीलंकाको सामना गर्नेछ ।प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा सहभागी टोलीका प्रशिक्षकले राखेको भनाइ :
हामी यस प्रतियोगिता जित्न आएका हौं । एएफसीको प्रतियोगिता मध्यनजर गर्दै हामीले दुई सातायता प्रशिक्षण गरिरहेका छौं । नेपाल र श्रीलंकाको मौसम फरक रहेकाले केही कठिन हुनेछ ।
–सुजुकी चिकासी
प्रशिक्षक श्रीलंका

हामी पाँच सातादेखि प्रशिक्षणमा छौं । खुला छनोट र एकेडेमीका उत्कृष्ट खेलाडीबाट टोली बनाएका छौं । दुई साताबाट एस्ट्रो टर्फमा प्रशिक्षण गरेर हामी उपाधि जोगाउने लक्ष्यसाथ नेपाल आएका छौं ।
–मुस्तफा अनोवर परवेज प्रशिक्षक, बंगलादेश

एकेडेमीकै खेलाडीलाई ६ महिनादेखि प्रशिक्षण दिँदै आएको छु । श्रीलंका र जापानमा लिएको वैदेशिक प्रशिक्षणले ठूलो मदत पुग्ने आशा छ । मैदानमा जसले राम्रो प्रदर्शन गर्छ उसैले खेल जित्ने हो । हामी आफ्नो मिहिनेत र कौशल देखाउने प्रयासमा हुनेछौं ।
–सोङजुन ली
प्रशिक्षक, भुटान

एक वर्षयता टोली एएफसी यू–१६ को तयारीमा जुटेको छ । यसका लागि हामीले इजिप्टको प्रशिक्षण क्याम्पमा रहेर केही खेल पनि खेल्यौं । हाम्रा एक खेलाडीले यू–१७ विश्वकप तयारीमा रहेको टोलीमा पनि मौका पाएका छन् । यसले टोलीको मनोबल झनै बढेको छ । नेपाली टिम घरेलु मैदानका कारण केही माथि देखिन्छ । प्रतियोगिताले हाम्रो बलियो र कमजोर पक्ष औंल्याउन मदत पुग्ने
विश्वास छ ।
–इबिआनो फर्नान्डेज
प्रशिक्षक, भारत

रमजानका कारण दुई महिनाअघि टोलीको जिम्मेवारी पाए पनि करिब तीन सातामात्र पूर्ण प्रशिक्षण गर्न पायौं । प्रतियोगितालाई भने टोली श्रीलंकामा एकसाता प्रशिक्षण क्याम्पमा पनि बसेको थियो । माल्दिभ्समा कम जनसंख्या भए पनि फुटबल पहिलो प्राथमिकतामा रहेकाले खेलाडी छनोटलगायतका विषयमा केही कठिनाइ हुने गरेको छैन ।
–मोहम्मद शाज्ली
प्रशिक्षक, माल्दिभ्स

खेलकुद

सेल्टिकमा रोजर्सको प्रभाव

लन्डन (एएफपी)– सेल्टिकका व्यवस्थापक ब्रेन्डन रोजर्सले आफ्नो टोलीले गरेको असाधारण प्रदर्शनमा खुलेर तारिफ गरेका छन् । सेल्टिक बुधबार राति ग्लास्गोमा एफसी अस्टानालाई ५–० ले पराजित गरी च्याम्पियन्स लिगको समूह चरण नजिक पुगेको थियो । एभ्गेनी पोस्टनिकोभले गरेको आत्मघाती गोल तथा स्कोट सिनक्लियरले दुवै हाफमा १–१ गोलमा सेल्टिक बलियो स्थितिमा पुगेको थियो । जेम्स फोरेस्टको गोल र इगोर सिटोभको आत्मघाती गोलपछि स्कटिस टोलीले प्रभावशाली विजय पाएको हो ।
काजकिस्तानमा मंगलबार हुने दोस्रो लेगअघि स्कटिस च्याम्पियन टोली बलियो स्थितिमा छ । समूह चरण सेल्टिकका लागि औपचारिकता मात्र बनेको छ । ‘म आएयता हामीले धेरै पटक उत्कृष्ट प्रदर्शन दिँदै आएका छौं, तर यो फरक खेल र फरक परिस्थितिमा थियो,’ रोजर्सले भने, ‘यस छनोट चरणमा सबै खेल दबाबका हुन्छन् । त्यसलाई खेलाडीले कसरी उपयोग गरे त्यो महत्त्वपूर्ण हुन्छ ।’गत सिजन पनि छनोटको यही चरणमा सेल्टिकले अस्टानामाथि दुई लेगमा ३–२ को नतिजा निकालेर समूह चरण तय गरेको थियो । त्यसयता रोजर्सको टोलीले स्कटिस फुटबलमा अपराजित रही तीन उपाधि जितेर आफ्नो प्रदर्शनमा उल्लेखनीय सुधार गरेको छ । सेल्टिकले त्यही सुधार बुधबारको खेलमा देखाएको थियो ।
इटालियन टोली नेपोलीले निसमाथि २–० को जित हात पार्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । ड्रिज मोर्टेन्सले १३ औं र फ्रेलो फिल्होले ७० औं मिनेटमा नेपोलीबाट गोल गरे । ७९ औं मिनेटमा कोजिइलोले सोझै रातो र प्लेआले दोहोरो पहेँलो कार्ड पाएपछि फ्रान्सेली टोली ९ खेलाडीमा खुम्चिएको थियो ।
बुधबार अन्य खेलमा सेभियाले इस्तानबुल बासाकसेहिर र ओलम्पियाकोजले एचएनके रिजेकालाई समान २–१ को स्कोरमा हराए ।

Page 20
खेलकुद

दुवैमा गौरिकाको कीर्तिमान

२० औं राष्ट्रिय पौडी
- कान्तिपुर संवाददाता
राष्ट्रिय पौडीमा बिहीबार कीर्तिमान बनाएका खेलाडी गौरिका सिंह, डुआना लामा र शुभम श्रेष्ठ । तस्बिर : कविन अधिकारी/कान्तिपुर

काठमाडौं– ओलम्पियन गौरिका सिंहले २० औं राष्ट्रिय पौडी प्रतियोगिताको पहिलो दिन बिहीबार सहभागी दुवै स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । १२ वर्षीया डुआना लामा र शुभम श्रेष्ठले पनि कीर्तिमानसहित स्वणर् पदक जितेका छन् ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा गौरिकाले ५० मिटर बटरफ्लाई र २ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेकी हुन् । उनले ५० मिटर बटरफ्लाई हिट्समै २९.४० सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् । उनले सोफिया शाहले दुई वर्षअघि सातौं राष्ट्रिय खेलकुदमा बनाएको ३२.०६ सेकेन्डको कीर्तिमान तोडेकी हुन् । आर्मीकी गौरिकाले फाइनलमा भने २९.७८ सेकेन्ड लगाइन् । यसमा एपीएफकी डुआनाले ३७.५३ सेकेन्डसहित रजत र तेन्जिङ डोमा शेर्पाले ३७.८२ सेकेन्डसाथ कांस्य हात पारे ।
१२ औं दक्षिण एसियाली खेलकुद (साग) मा एक रजत र तीन कांस्य पदक जितेकी गौरिकाले २ सय मिटर फ्रिस्टाइलमा पनि सोफियाकै कीर्तिमान भंग गरिन् । १४ वर्षीया उनले २ मिनेट ११.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितिन् । यसअघि सोफियाले १२ औं सागमा २ मिनेट १३.३२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । यसमा पनि डुआना (२ मिनेट ३३.१८ सेकेन्ड) दोस्रो भइन् भने उपास्थी महर्जन तेस्रोमा रहिन्।
‘समय उता (लन्डन) अभ्यास गरेजस्तो भएन तर प्रदर्शन सन्तोषजनक नै रह्यो,’ व्यक्तिगत स्पर्धामा २९ औंपल्ट राष्ट्रिय कीर्तिमान बनाएकी गौरिकाले भनिन्, ‘शुक्रबार तीन स्पर्धामा प्रतिस्पर्धा गर्दै छु, त्यसमा पनि राम्रो गर्ने प्रयास गर्नेछु । कीर्तिमान बनाउने लक्ष्य राखेकी छु ।’ उनले टिम स्पर्धासहित ३२ पल्ट राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।गत वर्ष ब्राजिलमा भएको रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी रहेकी गौरिकाले प्रतियोगिताको अन्तिम दिन शुक्रबार ५० र १ सय मिटर फ्रिस्टाइल तथा १ सय मिटर बटरफ्लाईमा प्रतिस्पर्धा गर्नेछिन्। लन्डनस्थित बार्नेट कोप्टहल स्वीमिङ क्लबमा पाँच वर्षयता निरन्तर प्रशिक्षण गर्दै आएकी गौरिका वैशाख २०७२ को राष्ट्रिय खुला प्रतियोगितापछि पहिलोपल्ट घरेलु प्रतियोगितामा सहभागी
भएकी हुन् ।उनको प्रिय स्पर्धा भने मध्यम दूरीमा हो । ‘४ सय मिटर इन्डिभिज्युयल मिड्ले, ४ सय मिटर फ्रिस्टाइल र ८ सय मिटर फ्रिस्टाइलमा पनि सहभागी हुने योजना बनाएकी थिएँ तर यहाँ ती स्पर्धा समावेश गरिएको छैन,’ उनले भनिन् । खेलाडीको अभावमा सबै स्पर्धा समावेश गर्न नसकिएको प्रतियोगिताका प्राविधिक समितिका संयोजक राजेश बज्राचार्यले बताए ।
२९ स्पर्धाको प्रतियोगिताको पहिलो दिन १४ स्वर्णको टुंगो लाग्ने बताइएको थियो । ‘प्रतिस्पर्धा हुनका लागि एक स्पर्धामा कम्तीमा चार खेलाडी हुनुपर्छ । महिलातर्फ २ सय मिटर बटरफ्लाईमा दुई र २ सय मिटर ब्याकस्ट्रोकमा एक खेलाडीले मात्र नाम दर्ता गरेपछि यसमा प्रतिस्पर्धा नै भएन,’ संयोजक बज्राचार्यले भने । अन्तिम दिन १५ स्पर्धा हुनेछ ।
१२ वर्षीया चम्किइन्एपीएफकी १२ वर्षीया डुआनाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा विविधा रिमालको ११ वर्ष पुरानो कीर्तिमान तोडेकी छन् । उनले ३ मिनेट ०७.२२ सेकेन्डमा पूरा गर्दै विविधाले कोलम्बोमा सन् २००६ मा भएको दसौं सागमा बनाएको ३ मिनेट १२.८५ सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।
उनले फाइनलमा भने ३ मिनेट ८.३२ सेकेन्ड लगाएर स्वर्ण हात पारिन् । यसमा एपीएफकै उपास्थीले रजत र मध्यमाञ्चलकी अदिप्सा वैद्यले कांस्य हात पारे ।
पुरुषतर्फ एपीएफका शुभम श्रेष्ठले २ सय मिटर ब्रेस्टस्ट्रोकमा २ मिनेट ३६.७५ सेकेन्डसाथ गत वर्ष कोलम्बोमा बनाएको आफ्नै कीर्तिमान सुधार गरे । उनले दक्षिण एसियाली एक्वाटिक्स च्याम्पियनसिपमा गत वर्ष २ मिनेट ४२.६२ सेकेन्डको कीर्तिमान बनाएका थिए । यसमा रजत पदक जितेका किरण कार्कीले २ मिनेट ४२.१३ सेकेन्डमा दूरी पूरा गरेका थिए ।
आर्मीका अनुभव सुब्बाले चार स्वर्ण जिते । उनले २ सय मिटर फ्रिस्टाइल, ५० र २ सय मिटर बटरफ्लाई तथा ५० मिटर ब्याकस्ट्रोकमा पहिलो स्थान हात पारेका थिए । मध्यमाञ्चलकी समिरा शोभा थापाले ५० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितिन् भने आर्मीका रुपेश चौधरीले २ सय मिटर ब्याकस्ट्रोकमा सफलता प्राप्त गरे । चार गुणा १ सय मिटर रिलेमा पुरुष र महिलातर्फ दुवैमा एपीएफले स्वर्ण कब्जा गर्‍यो ।

खेलकुद

रियललाई सुपर कप

सर्जियो रामोस र मार्सेलो सुपर कपको ट्रफी उचाल्दै । तस्बिर : रोयटर्स

 

म्याड्रिड (रोयटर्स)– रियल म्याड्रिडले घरेलु मैदानमा बार्सिलोनाविरुद्ध २–० को जित निकाल्दै दसौंपल्ट स्पेनिस सुपर कप जितेको छ । समग्रमा ५–१ को नतिजा निकालेको रियलले आफूलाई स्पेनको नयाँ महारथीका रूपमा उभ्याएको छ । पहिलो लेगको अन्तिम समयमा उत्कृष्ट गोल गरेका मार्को एसेन्सियोले चौथो मिनेटमै ३० मिटर टाढाबाट दर्शनीय गोल गर्दै क्याटलान टोलीलाई झट्का दिएका थिए । करिम बेन्जेमाले मध्यान्तरअघि नै दोस्रो लेगको निर्णायक गोल गरेपछि बार्सिलोना टिम म्याड्रिड समर्थकको विजयी नारा सुन्दै स्पेनको राजधानी छाड्न बाध्य भयो । पछिल्लो सिजन स्पेन र युरोपको च्याम्पियन रियलले प्रतिबन्धित क्रिस्टियानो रोनाल्डो र बेन्चमा रहेका गारेथ बेलको अनुपस्थिति महसुस हुन नदिई खेलभर बार्सिलोनामाथि दबाब कायम राख्यो । कमजोर प्रदर्शन गरेको बार्सिलोनाका फरवार्डद्वय लियोनल मेसी र लुइस स्वारेज दुवैको प्रहार पोस्टमा लाग्यो । अर्को साता सुरु हुने लिगअघि प्रशिक्षक एर्नेस्टो भालभेर्डेलाई टिममा थुप्रै सुधार गर्नुपर्ने दबाब छ । ‘हामीे उत्कृष्ट स्थितिमा छैनौं, जुन हाम्रो टिम र क्लबमा हुनुपर्ने थियो । हामीले पहिलोपल्ट म्याड्रिड हामीभन्दा माथिल्लो स्तरमा रहेको महसुस गर्‍यौं,’ बार्सिलोनाका डिफेन्डर जेरार्ड
पिकेले भने ।रियलले भने पछिल्लो सिजनको विजययात्रा यस सिजनको सुरुमै दुई उपाधि जित्दै कायमै राखेको छ । रियलले गत साता म्यासेडोनियामा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गर्दै यूईएफए सुपर कप पनि जितेको थियो ।

एसेन्सियोको प्रभाव
पहिलो लेगमा रेफ्रीलाई धकेलेका कारण प्रतिबन्धमा परेका रोनाल्डोको स्थानमा पहिलो रोजाइबाट खेलेका एसेन्सियोले छोटो समयमै प्रभाव छाडे । २१ वर्षीय मिडफिल्डरले ३० मिटर टाढाबाट गरेको उत्कृष्ट प्रहार बार्सिलोनाका गोलरक्षक मार्क–आन्द्रे टेर स्टेगनले ठम्याउन सकेनन् ।‘पछिल्लो खेलको गोल सुन्दर थियो र आजको गोल पनि । तर पहिलो गोल भएको स्थान हेर्दा त्यो केही कठिन थियो,’ एसेन्सियोले भने, ‘मैले आफूले पाएको समयको सक्दो सदुपयोग गर्नुपर्छ । म व्यक्तिगत र टोलीका लागि निकै खुसी छु ।’रियलको दोस्रो गोल हुनुअघि लुकास भाज्केजको प्रहार पोस्टमा लागेर फर्किएको थियो । तर ३८ औं मिनेटमा मार्सेलोको लो–क्रसमा बेन्जेमाले उत्कृष्ट गोल गरे । त्यसपछि रियलले खेलमा नियन्त्रण लियो र विपक्षीसामु बल खेलाउँदै आगामी चुनौतीका लागि शक्तिसंचय गर्‍यो ।
‘हामीले सिजनको सुरुआत राम्रो गरेका छौं । अझै लामो यात्रा तय गर्नु छ,’ जिदानले भने, ‘यात्रा कठिन हुनेछ तर हामी यसमा खुसी छौं । पहिलो हाफ उत्कृष्ट रह्यो ।’

खेलकुद

जेसिज कप सर्‍यो

चितवन (कास)– बाढीका कारण भदौ १० देखि १९ सम्म नारायणगढको क्याम्पाचौरमा हुने भनिएको पहिलो ई–प्लानेट जेसिज कप फुटबल प्रतियोगिता सरेको छ । आयोजक नारायणगढ जेसिजले भदौ १७ देखि २६ सम्म नयाँ मिति तय गरेको छ । प्रतियोगितमा आर्मी, एपीएफ र पुलिस गरी तीन विभागीय टिम, फ्रेन्ड्स क्लव, हिमालयन शेर्पा र क्षेत्रीय स्तरका चितवन–११, झापा–११, पोखरा–११, विजय युथ क्लब हेटौंडा सहभागी हुने छन्।

 

खेलकुद

नेपालको हार

काठमाडौं (कास)– जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार जापानको पाँचौं श्रेणीको एमिती स्पोर्ट्स क्लबसँग ५–० को हार बेहोरेको छ । दोस्रो रोजाइको टोली उतारेको नेपालले पहिलो हाफमा ३ र दोस्रोमा २ गोल खाएको थियो । पहिलो खेलमा गाम्बा ओसाका यू–२३ सँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा क्वान्सेई गाकुन विश्वविद्यालयलाई २–१ ले हराएको थियो । नेपाली टोलीले शुक्रबार हनान विश्वविद्यालयसँग खेल्नेछ । एएफसी एसियन कपको छनोट चरण तयारीलाई नेपाली टोली जापान पुगेको हो । नेपालले छनोट चरणअन्तर्गत भदौ २० मा ताजकिस्तानसँग खेल्दै छ ।

खेलकुद

रोनाल्डो र मेसीकै प्रतिस्पर्धा

लन्डन (एएफपी)– विश्व वर्ष फुटबलरको उपाधि हात पार्न क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीबीच फेरि प्रतिस्पर्धा हुने भएको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार रोनाल्डो र मेसीलाई समेट्दै विश्व वर्ष फुटबलरका लागि २४ खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । दशकयता यी दुईले नै अवार्डमा प्रभुत्व जमाउँदै आएका छन् । रोनाल्डोले गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र स्पेनिस लिग दिलाउन प्रमुख भूमिका खेले भने मेसीले पनि बार्सिलोनाबाट आफ्नो गोलसंख्या ५ सय पुर्‍याए । मनोनयनमा परेका अन्य खेलाडीमा पिइरे अउबामेयाङ, लियोनार्डो बोनुची, जियानलुइजी बुफोन, डानियल कार्भाजाल, पाउलो डिबाला, एन्टोनी ग्रिजम्यान, इडेन हाजार्ड, जाल्टन इब्राहिमोभिच, आन्द्रेज इनिस्टा, ह्यारी केन, एनगोलो कान्टे, टोनी क्रुज, रोबर्ट लेवान्डोवस्की, मार्सेलो, म्यानुयल नेउर, लुका मोड्रिच, केलोर नाभास, नेयमर, सर्जियो रामोस, एलेक्सिज सान्चेज, लुइस स्वारेज र आर्टुरो भिडाल छन् ।

 

Page 24
हेल्लो शुक्रवार

एक्स्ट्रा युथ

सरकारले युवा दिवसमा १० युवालाई एक लाख रुपैयाँ सहित सम्मान गर्‍यो । ती युवाले नविन खोज, सामाजिक कार्य, उद्यमसिलतालाई प्रोत्साहन गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गरेको राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित हुनेले के काम गरे ?
- मकर श्रेष्ठ

बन्यजन्तु संरक्षक
हेमन्त आचार्य

वातावरण संरक्षण र युवा परिचालन विधाबाट सम्मानित हेमन्त आचार्य चोरी सिकार चोरी सिकार नियन्त्रणमा युवा परिचालन अभियान सञ्जालका अध्यक्ष हुन् । ०६४ मा बर्दिया राष्ट्रिय निकुन्जको २ वटा गैडा मारेपछि बर्दियाका युवाहरु बन्यजन्तुको संरक्षणमा लागेको हुन् । १५ जना युवाबाट सुरु भएको संरक्षण पछिल्लो समय २ हजार ५ सय भन्दा बढी यो सञ्जालमा आवद्ध छन् । सबै जनालाई निकुन्जले परिचयपत्र वितरण गरेको छ । निकुन्जको मध्य क्षेत्र बाँके र सुर्खेतका केही भागका युवाह समेत यो सञ्जालमा आबद्ध छन् । युवाहरुले निकुन्जमा पालैपालो गस्ती गर्छन् ।

दुई बर्षमै स्याउ पलाउने कृषक
समराज गुरुङ

कृषि र पर्यटन विधाबाट सम्मानित गुरुङले मुलुकको उच्च हिमाली हावापानी अनुकुल व्यसायिक स्याउ खेती गरेका छन् । व्यवस्थापन संकायमा स्नातक गरेका उनका परिवारले ७ सय ३७ रोपनी जग्गा भाडामा लिएर ४ सय ५० रोपनी जग्गामा स्याउ खेती गरेका छन् । फार्ममा ६० हजार स्याउको बिरुवा लगाएका छन् । बर्षमा साढे तीन देखि चार लाख किलो स्याउ उत्पादन गर्ने गरेका छन् । थोरै जग्गामा सानो जातको धेरै बिरुवा रोपेर स्याउ फलाएका छन् । बिरुवा रोपेको दुई बर्षमै फल दिने गाला, गोल्डेन डिलिसियस, फुजी जातको स्याउ लगाएका छन् । ५० जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् ।

विवाह गर्नेखर्चबाट समाजसेवा
सविता उप्रेती

मानवसेवा/शिक्षा विधाबाट सम्मानित उप्रेती ०६७ देखि अटिजम भएका बालबालिकालाई शिक्षा स्वास्थ्य, सशक्तिकरण र पुनस्थापना गर्ने उद्येश्यले पेप्सीकोलामा बिशेष स्कूल तथा पुनस्थापना केन्द्र खोलेकी छिन् । समाजकल्याण परिषद् अन्तर्गतको शारिरीक पुनस्थापना केन्द्रमा दुई बर्ष गर्दा उनले अटिजम भएका बालबालिकाको अवस्था नाजुक देखिन । शिक्षा र स्वास्थ्य अवस्था झन कमजोर देखिन । त्यो पीडाले उनलाई सताइरह्यो । जागिर छाडेर उनले यस्ता बालबालिकाको जीवन परिवर्तन गर्ने अठोट लिइन । दोलखाको नाम्दुकी उनलाई परिवारले विवाह गर्न जुटाएको खर्चबाट समाजसेवामा लागेकी हुन् ।

हिमाल चढाएर कृर्तिमान
फुर्वा तेन्जिङ शेर्पा

साहसिक विधाबाट सम्मानित शेर्पाले १२ पटक सगरमाथा आरोहण गरिसकेको छन् । कृतिमान कायम गर्न उनी सगरमाथा चढ्का होइनन । किर्तिमान काम गर्नेलाई चढाउने मध्येका उनी एक हुन् । १८ बर्षको उमेरमा १० दिनमै दुई पटक चढे । नौ बर्षअघि मिनबहादुर शेरचनलाई सगरमाथा चढाउने पनि उनी नै थिए । २४ बर्षमा ९ पटक सगरमाथा चढे । ३ तीनमा दुई पटक समेत चढे । सुदर्शन गौतमलाई सगरमाथा चढाउने उनी पनि थिए । गाउँमा स्कूल नभएपछि पढ्न नपाएका उनी अरुलाई सगरमाथाा चढाएर रेकर्ड बनाइरहेका छन् । हिमाल चढ्ने र चढाउने उनको पेशा बनेको छ । त्यसैले लाजिम्पाटमा डिम्ररस डेस्टिनेशन भन्ने ट्ेरकिङ अफिस नै खोलेर बसेका छन् । सगरमाथा चढ्न चाहनेले बिदेशी हो भने ५० देखि ६० हजार डलर तिर्ने र नेपालीले १५ देखि २० लाख खर्च गर्ने गरेको उनी बताउछन् ।

आत्मविश्वास बढाउने लेखक
रोहित भण्डारी

लेखन तथा पत्रकारिता विधाबाट सम्मानित भण्डारी सगरमाथा टेलिभिजनमा कार्यरत छन् । ‘नेपालमै सकिन्छ र सम्भव छ’ नामक पुस्तक प्रकाशित गरेर युवाहरुलाई नेपालमै केहि गर्न सकिन्छ भन्ने आत्मबिश्वास सिर्जना गर्न प्रेरित गरे वापत उनले राष्ट्रिय पुरस्कार पाएका हुन् । पत्रकार भण्डारीद्वारा लिखित पुस्तक पढिसक्ने हरेक पाठकलाई कतै न कतै आफूलाई प्रेरणा मिलेको महसुस हुन्छ । सडकमा जुत्ता पालिस गर्ने, पुस्तक बेच्ने, गुन्द्रुक र आलु बेच्नेहरूको रोचक कथा छ । थोरै रकम लगानी गरेर राम्रो पैसा आर्जन गरेका सफल व्यक्तिहरूका रोचक कथा पढ्दा पाठकहरूमा उत्साह थपिन्छ ।

कपाल काट्दै पढ्दै
सिकन्दरकुमार ठाकुर

उद्यमसिलता विधाबाट सम्मानित ठाकुर नौ बर्षको उमेर देखि बुबालाई कपाल काट्न सघाउथे । राजधानीको बाग्मती बोर्डिङ स्कूलबाट १२ सकाएका उनी अहिले शंकरदेव क्याम्पसमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् । उच्च शैक्षिक योग्यता हासिल गरेर पनि शैलुन सञ्चालन गरेर युवालाई श्रमप्रति उत्प्रेरणा जगाएको भन्दै उनलाई सम्मान गरेको हो । बुबालाई सघाउदै पढेका उनको पढाईमा पनि बारम्बार ठेस लाग्यो । बीबीएस पहिलो र दोस्रो बर्षमा ब्याक लाग्यो । एमबीबीएसमा पनि त्यस्तै भयो । काम गर्नु उनको बाध्यता थियो । कलेजको समय बाहेक अरु बेला कालोपुलको हाम्रो सैलुनमा उनी आफै खटिन्थे ।

मुटुको अवस्था पत्ता लगाउने आविष्कार
बसन्तकुमार शाही

नयाँ खोज र आविष्कार (स्वास्थ्य) विधाबाट सम्मानित शाहीले मुटुको मापन गर्ने उपकरण बनाएका छन् । एचए पढेका उनले बनाएको उपकरणलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा प्रदर्शन समेत गरिएको थियो । परिषद्ले उक्त उपकरणलाई थप परिमार्जन गर्न लगाइएको छ । अनुसन्धानमा निरन्तर लागेर स्वास्थ्य सम्बन्धी बिशेष उपकरण अन्वेषणमा क्रियासिल रहेको भन्दै सम्मान गरेको हो । उनले अटो कार्डिया डिजिटल डिभास बनाएका हुन् । यो उपकरणले मुटुको अवस्था के छ ? भनेर रेकर्ड दिन्छ । पाँच सेकेन्ड भित्र मुुटु सम्बन्धी १० भन्दा बढी जानकारी दिने यन्त्र बनाएका छन् । मुटुको विशेषज्ञहरुलाई उनले प्रस्तुत गरिसकेका छन् ।

कान्छो आविष्कारक
रामु खत्री

१२ कक्षामा अध्ययनरत खत्री नयाँ खोज र आविष्कार (इन्जिनियरिङ) विधामा सम्मानित भए । सरकारले युवा दिवसमा सम्मान गरेका मध्ये उनी सबैभन्दा कान्छो हुन् । उनी २० बर्ष मात्रै भए । तर, उनले अहिले सम्म करिब ९० भन्दा बढी विज्ञानका नवीन आविस्कारहरु तथा खोज अनुसन्धान गरिसकेका छन् । सन् २०१६ र २०१७ को राष्ट्रिय स्तरको युवा– वैज्ञानिक अर्वाड पनि जितिसकेका छन् । २ कक्षा पढ्दादेखि नै अनेक खोज, अनुसन्धान तथा आविस्कार सुरु गरेका थिए । घाममा सुकाएको लुगा पानी पर्दा भित्र सारिदिने यन्त्र, घरमा कोही मान्छे आयो भने फोन आउने यन्त्र, घरको धारामा आएपछि मोटर अटोमेटिक ट्याङकीमा जाने र ट्याक्टी भरेपछि आफै बन्द हुने प्रविधि पनि बनाएका छन् ।

प्रेरणादायी उद्यमी
सिता राना थारु

जन्मेको एकवर्षपछि अपाङगता भएकी थारु हिड्न सक्दिैनन् । घिस्रिएर आफ्नै दैनिक काम गर्छिन् । ५ बर्षअघि गाउँमा चलेको सिलाई तालिममा उनी पनि सहभागि भइन । तीन महिने तालिममा उनले कपडा सिलाउन सिकिन । घरमै एउटा लुगा सिलाउने मेसिन थियो । तालिममा सिकेको कुरा घरमा अभ्यास गर्थिन । तालिमपछि बुङगुर पालिन । बुङगुर बेचेर अर्को दुई वटा मेसिन किनन् अनि कन्चनपुरको बेलौरी बजारमा कल्पना सिलाई केन्द्र खोलिन । उनको पसलमा १५ मेसिन छ । ५ जना कामदार राखेर सिलाई केन्द्र चलाएकी छिन् । त्यस्तै उनी गाउकी दिदी बहिनीलाई सिलाई तालिम पनि दिने गरेकी छन् ।

लाहुरेमा फेल, कृषिमा पास
बिशाल राई

कृषि उद्यम विधाबाट सम्मानित राईले झापाको बिर्तामोठमा तीन बिघामा माछा फार्म गरिरहेका छन् । स्नातक सकाएर ब्रिटिस आर्मीमा छनौट हुन नसकेपछि उनी माछा पालनमा लागेका हुन् । दुई बिघा आफ्नै जग्गाबाट सुरु गरेका उनले गतबर्ष मात्रै एक बिघा जग्गा थपे । ६० लाख लगानीबाट सुरु गरेको माछा पालनबाट गतबर्ष मात्रै ३३ लाख आम्दानी गरे । यसबर्षएसम्म १ करोड १० लाख लगानी पुर्‍याएका छन् । उनको फार्ममा अहिले रहु, नैनी, ग्रास, भाकुर लगायत जातका डेढ लाख माछा हुर्किरहेका छन् । एक बिघामा पोखरी बनाएका छन । बाँकी जग्गामा कुखुरा, हास पालेका छन ।

Page 25
हेल्लो शुक्रवार

फिल्म मेकर हेमराज

- सुशील पौडेल

‘होस्टेल’ बाट निर्देशनमा डेब्यू गर्दैगर्दा हेमराज बुढाथोकी क्षेत्री (बीसी) ले नायकको रूपमा अनमोल केसीलाई पनि ब्रेक दिए । तिनै अनमोल लाइमलाइटमा पर्दा हेमराज छायाँमा परे । यही सिलसिला ‘जेरी’ मा पनि दोहोरियो । दयाहाङ राईलाई लिएर ‘सम्बोधन’ बनाए, फिल्म नै चलेन । अनमोललाई नै लिएर पछिल्लो फिल्म ‘गाजलु’ बनाए । कुमारीको विषयले यसपटक भने हेमराजलाई केही चिनायो । पाचौं फिल्म ‘ग्याङस्टार ब्लुज’ सम्म आइपुग्दा पनि हिट फिल्मका निर्देशक हेमराज अझै छायाँमै छन् ।
‘होस्टेल’ गर्नुअघि छ/सात वर्षदेखि बम्बई फिल्म इन्टस्ट्रीमा रहेर काम गरिरहेका हेमराज उमेरले १९ वर्ष टेक्दै गर्दा पहिलो पटक बम्बई टेकेका थिए, निर्देशक बन्ने उद्देश्यले । नेपालगन्जको मध्यमवर्गीय परिवारमा जन्मेका उनमा प्लस टु पढ्दै गर्दा फिल्म मेकिंग पढ्ने भूत सवार भयो । भूत जगाउने काम भने कलेजकै प्रिन्सिपल चित्र भण्डारीले गरिदिएका थिए । त्यो बेला प्रिन्सिपलले एरिक भ्यालीको ‘क्याराभान’ ल्याएर देखाएनन् मात्रै ।
भने, ‘एउटा मान्छे फ्रान्सदेखि आएर नेपालको दूर्गममा गई फिल्म बनाउँछ, जहाँको भाषा, ठाउँबारेमा हामीलाई नै थाहा छैन ।’ र, त्यही गाउँको बुढोलाई एक्टर बनाएर ओस्कारको रेड कार्पेटसम्म लिएर जान्छ । जहाँ विश्वभरका कलाकारको पुग्ने सपना हुन्छ । फिल्म मेकिंगको शक्ति भनेको यही हो ।’ त्यो भन्दा अघिसम्म हिरो–हिरोइन नै फिल्मको शक्ति हो भन्ने ठान्ने हेमराजका लागि निर्देशक बन्ने मोह त्यसपछि जाग्यो । ‘त्यसपछि मप्रति निर्देशक बन्ने सोच बढ्दै गएको हो,’ उनले भने ।’
प्लस टु सकेपछि एक वर्ष घरकालाई राजी गराउन लागे । पढ्ने मान्छे फिल्म लाइनमा लाग्दैनन् भन्ने आम सोच उनको बाबामा पनि थियो । घरकालाई कन्भिन्स्ड गरेर पढ्न सक्छु जस्तो लागेन हेमराजलाई । एकदिन बाबाले बैंकमा जम्मा गर्न भनी दिएको पैसा लिएर रातको ३ बजे घरबाट भागे बम्बई । ‘भाग्नुअघिको रात निद्रा लागेन । मनमा अनेक कुरा खेलिरहे । डर पनि । जाऊ की नजाऊ भईरहेको थियो । सक्छु की सक्दिनँ भन्ने थियो । दिमाग र मनको फाइट चलिरहेथ्यो । मनले भन्थ्यो, हैन यार, सक्दैनस्,’ उनले भने ।
हेमराजको संगत जहिल्यै सिनियरसँग मात्रै हुन्थ्यो । जून उमेरमा करिअरका लागि उनी आत्तिरहेका थिए, सायद त्यो आत्तिनुपर्ने बेला थिएन । त्यो बेला उनका साथी सर्कलकाहरू आत्तिरहेका हुन्थे । उनी पनि आत्तिए । कक्षा पाँचसम्म टपर नै थिए हेमराज । तर जति कक्षा चढ्दै गए, पढाईमा त्यति नै बिग्रदै गए । ‘म घुसघुसे बदमासी धेरै गर्थें । बम्बई गएपछि नै ममा परिवर्तन आयो । देखें, वास्तविक संसार कति फरक छ भनेर । आफुभित्रको इनर पीस बुझें’ उनले थपे ।
भागेर बम्बई गएका हेमराज घर फर्किनु पर्ने भयो । ‘फिल्मकै लागि अस्ट्रेलिया जानुपर्ने भएपछि पासपोर्ट बनाउन नआई सुखै पाईनँ, आएँ तर एकरात मात्रै बसें,’ बोर्डरसम्म लिन पुगेका बाबासँग उनको एक शब्द पनि कुराकानी भएनछ । बाबुछोरा नै हठी स्वभावका । ‘बाबाले मलाई पकेटको पैसा सकाएपछि फर्किन्छ । त्यसले केही गर्न सक्ने हैन भन्नुहुन्थ्यो रे । मेरो इगो त्यही थियो । आफु केही नबनी त फर्कदै फर्कन्नँ भन्ने थियो’ तर सात वर्षपछि भने फेरि बम्बई नफर्किने गरी देश फर्कनै पर्ने भयो ।
सन् २०११ को अन्त्यतीर हेमराजको बाबाको निधन भयो । त्यो बेलासम्म पनि १५ दिनको बिदा लिएर फर्किने गरी आएका थिए हेमराज । करिअरले भर्खर बामे सरिरहेको थियो । साथी सर्कल बढिरहेको थियो । टीभी सिरियल र बी ग्रेडका फिल्ममा निर्देशन टीममा काम पाउन थालिसकेका थिए । ‘ तर जीवन आफुले योजना बनाए अनुसार नचल्ने रहेछ’ हालैको एक भेटमा हेमराज आफ्ना पुराना दिन र संघर्षमा घोत्लिए । बाबाको निधनले घरको मियो ढलेपछि समस्या देखिन थाल्यो ।
आड भरोसा दिने कोही नहुँदा भाई डिप्रेसनमा पुगे । त्यसपछि हेमराजले परिवार पहिलो कर्तव्य ठानी बम्बई करिअर चटक्क छोडेर घर आए । त्यो बेला पनि उनलाई नेपाली फिल्ममा आउँछु भन्ने सोच नै रहेनछ । ‘नेपाली फिल्म उद्योग खासै राम्रो थिएन । बीचमा संकटकाल लागेपछि त देशकै हरिविजोग थियो, फिल्मको मात्रै के कुरा ? त्यो बेला मलाई यहाँ आउन आकर्षित गर्ने कुरै केही थिएन जस्तो लाग्छ । त्यहीं राम्रै भईरहेको थियो’ त्यसो त हेमराजको बम्बई छोडेर घर फिर्ने सोच पनि त थिएन ।
आखिर सुनील रावलले ‘होस्टेल’ मा लिएपछि उनको लाइफको गेम चेन्ज भयो । त्यो बेलासम्म ‘लुट’, ‘ब्याच नम्बर १६’ जस्ता केही फिल्म हेरेपछि नयाँ फिल्ममेकर पनि आउँदै रहेछन् भनेर सकारात्मक बनेका हेमराज ‘लुट’ चलेपछि भने दर्शकले नयाँ चीज खोजिरहेको छ भन्नेमा पुगे । ‘त्यसले पनि ममा इनर्जी दियो’ उनी भन्छन् । समस्याबाट भाग्ने हैन जुध्ने हो भन्ने ज्ञान हेमराजले बम्बईबाटै पाएका थिए ।‘होस्टेल’ मा उनले त्यही सिप पोख्न पाए । उनी नेपाली फिल्म भनेपछि नाख खुम्चाउने युवा पुस्तालाई हलसम्म तान्न सफल भए ।
तर हेमराजलाई ‘होस्टेल’ मा सीमित हुनु थिएन । किनभने उनले त्यसमा आफ्ना थुप्रै कमजोरी भेटेका थिए । ‘नढाँटी भन्ने हो भने आफ्नो फिल्म हेरेर सबैभन्दा बढि गाली मैले आफैंलाई गर्छु । तपाईको कामको लागी तपाई भन्दा राम्रो क्रिटिक्स अरू कोही हुनै सक्दैन’ दिमागमा जे छ त्यो, भिजुअल्ली उतार्नु नै फिल्म मेकिंगको जर्नी ठान्ने हेमराज दोस्रो फिल्म ‘सम्बोधन’ मा केही गहन हुन खोजे । ‘तर त्यो मेरो गलत समयमा गलत बजेटमा बनेको फिल्म थियो’ यतिबेला आएर उनी रियलाइज्ड गर्छन् ।
उनले थपे, ‘जति बेला दिमागमा फिल्म हुन्छ, त्यो बेला अर्कै हुन्छ । तर जब प्राक्टिकल्ली फिल्डमा उत्रिन्छ, फरक पर्छ ।’ त्यसो त फिल्म मेकिंग टीम वर्कमा भर पर्छ । ‘हामी लिमिटेड बजेटमा काम गर्छौं । एकजनाले दुई, तीन डिपार्टमेन्टको काम गर्दिन्छौं । अनि नतिजा काम चलाउ मात्रै हुन्छ । तर पनि कुनैबेला नेपाली फिल्ममा भविष्य कहाँ छ भन्थे, अहिले यसैमा भविष्य देख्न थालेका छन्’ यतिबेला हेमराज आशावादी पनि छन् ।
हेमराज फिल्म मेकिंगलाई जिवनसँग तुलना गर्न रूचाउँछन् । भन्छन्, ‘यो दुवै बुझ्न गाह्रो छ । पर्फेक्ट दुवै हुँदैन । जिन्दगी बाँच्ने पनि तरिका हुन्छ । गहिराईमा गएर बाँच्ने वा सतहमा नै रमाउने ? जति गहिराईमा जान खोज्नु हुन्छ, जिवन त्यती जटिल लाग्छ । फिल्म पनि त्यही हो । ‘होस्टेल’, ‘जेरी’ जस्तै सतही फिल्म बनाउनुस् वा गहिराईमा जान खोज्नुस्, त्यति तह, आयाम भेट्नुहुन्छ ।’ त्यसो त शुरुवाती दुई फिल्म ‘होस्टेल’ र ‘जेरी’ पछि हेमराजलाई लभस्टोरी जानराको निर्देशक नै भनिन थाल्यो ।
तर उनी भने आफुलाई जबरजस्ती उक्त ट्याग भिराइएकोमा खुशी छैनन् । ‘म केवल फिल्म मेकर मात्रै हो । म त्यो ट्याग लिएर हिंड्न चाहन्नँ’ कारणमा उनी बोले, ‘आगामी दिनमा म डरलाग्दा प्रयोगहरू गर्ने वालामा छु । म बजारमा जे बिकिरहेको छ, त्यो बेचौं भन्ने मात्रै सोचमा छैन । सबैजना ‘होस्टेल’ वा ‘जेरी’ नै मबाट आशा गरिरहेका बेला थोरै भएपनि मैले ‘गाजलु’ बाट सरप्राइज दिन चाहें । होला, त्योबाट मैले थुप्रै गाली पनि खाएँ । तर म सधैं ‘जेरी’ बनाईरहन सक्दिनँ ।’
फिल्ममेकर जसरी परिपक्व हुँदै जान्छन्, दर्शक पनि हुनुपर्छ भन्ने सोच हेमराजको छ । ‘दर्शकबाट जे माग हुन्छ, फिल्ममेकरले त्यही आपूर्ति गर्ने हो,’ उनले थपे, ‘जबसम्म राम्रो फिल्मको माग गर्नुहुन्न भने ‘जेरी’ जस्तै फिल्म चलिरहन्छ । त्यो विकास हैन । हरेक वर्ष कार, बाइकको मोडल किन चेन्ज हुन्छ ? सबैजना अपग्रेड हुन चाहन्छन् ।’ फिल्म मेकिंगमा आफ्नोपन भएन भनेर मेकरलाई लाग्ने आरोपको समान भागीदार दर्शक पनि देख्छन्, उनी ।
दर्शकले पनि बलिउड फिल्मको स्वाद फेर्न जरुरी रहेको जिकिर गर्दै भने, ‘खासमा जो भिन्न फिल्म भएन भनिरहेको हुन्छ, त्यो दर्शक हलमा फिल्म हेर्नमा भन्दा टोरेन्ट वा युट्युबमा कुरेर बसिरहेको हुन्छ । त्यस्ता दर्शकले उद्योगलाई कुनै इनपुट दिंदैनन् । हामी कसका लागि फिल्म बनाउने ? जबसम्म युट्युबमा कमेन्ट गर्दै बस्ने हलमा आएर फिल्म हेर्दैन, तबसम्म ‘साँघुरो’, ‘कालोपोथी’ वा ‘पशुपतिप्रसाद’ को अकुपेन्सी बढ्दैन ।’

हेल्लो शुक्रवार

द हट

एक वर्ष भयो, द हट सञ्चालनमा आएको । माइतीघरमा रहेको यो रेस्टुरेन्टका सञ्चालकले पछिल्लो एक वर्षमा गरेको अनुभव र सिकाइ कस्तो रह्यो त ? ‘हामीले प्रत्येक दिन केही न केही सिकिरहेका छौं र प्रत्येक पल्ट सुधारका क्रममा छौं,’ रिकेश श्रेष्ठ भन्छन् । उनीसँगै चार जना छन्, सञ्चालक । अरु हुन्, सनिज श्रेष्ठ, दीपेश कायष्ठ र सुनिल थापा । त्यसो त यही ‘द हट’ नाममा सिनामंगलमा पनि रेस्टुरेन्ट चलिरहेको छ । त्यससँग सुनिल मात्र आवद्ध छन् ।
एक वर्ष अगाडि यी चार युवालाई रेस्टुरेन्ट व्यवसायबारे केही थाहा थिएन् । यसमध्ये सुनिललाई छाडेर सबै लन्डनमा थिए । उनीहरूको भेट उतै भएको हो । सबै म्यानेजमेन्ट अध्यनका क्रममा थिए । जति बेला उनीहरू काठमाडौंमा फेरि भेटिए, त्यसैको उपज हो, यो रेस्टुरेन्ट । ‘सुरुमा वास्तवमै हामीलाई रेस्टुरेन्टबारे केही थाहा थिएन । अहिले रेस्टुरेन्टको मार्केटिङ, ग्राहकको टेस्ट, बानीबारे धेरै थाहा पाउने भएका छौं,’ २८ वर्षीय रिकेशले भने ।
त्यसो भए, कोही किन द हटमा जानु पर्छ त ? यसमा रिकेशको तर्क छ, ‘हामी रेस्टुरेन्टलाई रंगीचंगी पार्दै सजावट गर्नेमा विश्वास गर्दैनौं । हाम्रो ध्यान मुख्यत: खानामै केन्द्रित छ । हामी खानालाई नै आकर्षक, मीठो, हाइजेनिक बनाउने प्रयास गर्छौ,’ रिकेशल थपे । यदी मीठो खानाका पारखी हो भने द हट कसैको पनि गन्तब्ध हुन सक्छ । अहिलेसम्म द हटले तय गरेको ‘खानामै जोड दिने’ रणनीतिबाट धेरै ग्राहक सन्तुष्ट पछि छन् ।
र, उनीहरूबाट राम्रो रेस्पोन्स पनि आइरहेको उनीहरू दाबी गर्छन् । सनिज किचेनको जिम्मेवारी बढी सम्हाल्छन् । उनका अनुसार द हटका तीन प्रमुख आकर्षण हुन्, पेरीपेरी चिकेन (मूल्य रु २ सय ८०), आलाकिभ (मूल्य रु ५ सय) र काप्स सलन (मूल्य रु ३ सय ५०) हुन् । पेरीपेरी चिकेनमा विशेष सस हालिएको हुन्छ, यो केही पिरो हुन्छ । चिकेन फ्राइ गरिएको हुन्छ, त्यसैले यो कुरुमकुरुम हुन्छ । आलाकिभमा चिज र मसरुम प्रयोग हुन्छ । यसमा प्रयोग हुने चिकेनका लागि छातिको भाग प्रयोग गरिएको हुन्छ ।
काप्स सलन भने फ्युजन गरिएको परिकार हो । यसलाई डच खाना भनेपनि हुन्छ । यसमा चिप्स हुन्छ, मासु पनि हुन्छ, अनि चिज । सनिज यहाँको साढेको नेपाली पाराको म:म (मूल्य रु २ सय ४०) लाई पनि विशेष मान्छन् । द हटमा बारको पनि सुविधा उपलब्ध छ, अनि यसको ग्राहक क्षमता रहेको छ, ७२ । द हट सामाजिक कार्यमा पनि सहभागी छ, उसले सी नेपालसँग मिलेर साइक्लिङको पनि आयोजना गरेको थियो, जसको उद्देश्य गरिब विद्यार्थीलाई सहयोग गर्नु थियो ।

Page 26
हेल्लो शुक्रवार

भिडियोमा भिडन्त

फेसबुकले अघिल्लो साता घोषणा गरेको नयाँ फिचरले यूट्युब र टेलिभिजनलाई समेत टक्कर दिनेछ । कसरी ?
- विजय तिमिल्सिना

फेसबुकले अघिल्लो साता टेलिभिजनमा देखाइने जस्तै कार्यक्रमहरू हेर्नको लागि छुट्टै बटन परीक्षण गरिरहेको सार्वजनिक गरेपछि फेसबुकको महत्त्वकांक्षामाथ धेरै प्रश्न उठ्न थालेको छ । धेरैले फेसबुकको यो कदमलाई यूट्युवसँगको ‘भिडियो भिडन्त’को संज्ञा दिएका छन् किनभने फेसबुकको नयाँ सुविधाले प्रयोगकर्तालाई यूट्युवको विकल्प दिन सक्छ । फेसबुकले आफ्नो नयाँ फिचरलाई वाच नाम दिएको छ ।

के हो वाच ?
फेसबुकको न्यूजफिड भनेजस्तै वाच भिडियोको लागि छुट्टै फिड हुनेछ । जसमाटेलिभिजनकार्यक्रमजस्तै भिडियोहरू वाभनौं शृंखलावद्ध भिडियोहरूको प्रशारण हुन्छ जुनप्रयोगकर्ताले आफूले चाहेको बेलामा हेर्न पाउँछन् । फेसबुकले यसको परीक्षण अहिले सीमित अमेरिकी प्रयोगकर्तामाझ गरिरहेको छ ।
फेसबुकले सार्वजनिक गरेको तस्बिरअनुसार वाच बटन न्यूजफिडसँगै देखिएको छ । जसमा क्लिकगर्दा प्रयोगकर्ताले टेलिभिजन शृंखलाहरू र तिनका क्याटेगरी देख्न सक्छन् । यसमा क्याटेगरीअनुसार गर्न मिल्ने सुविधा पनि छ । वाचनमा रेकर्डेड कार्यक्रममात्रै नभएर लाइभकार्यक्रम र इभेन्ट पनिप्रशारण हुने फेसबुकले जनाएको छ ।
यसमा प्रशारण हुने कार्यक्रमहरू फेसबुक आफैंले निर्माण गरेको नभएर अन्य व्यक्तितथा संस्थाहरूले निर्माण गरेका हुन् । यसलाई विज्ञापनबाट आएको आम्दानीको ५५ प्रतिशत हिस्सा मिल्नेछ । परीक्षणको लागि प्रशारण गर्न एक दर्जन बढी कार्यक्रमहर तयार छन्, तीमध्ये केही निर्माता व्यक्ति तथा कम्पनीलाई फेसबुकले कार्यक्रम उत्पादनको लागि सिडमनी उपलब्ध गराएको फेसबुकले स्वीकारेको छ ।
यसअघि फेसबुकमा देखिने गरेको भिडियो विभिन्न फेसबुक पेज र एकउन्टमा राखिएका भएपनि वाचमा देखिने भिडियो भने ति भन्दा भिन्न हुनेछन् किनकी यी कार्यक्रम फेसबुकमा मात्रै प्रशारण गर्ने भनेर तयार पारिएका हुन् । यी कार्यक्रम परीक्षणपश्चात अमेरिकीप्रयोगकर्तामाझ र विश्वभरका प्रयोगकर्तामाझ सुरु गरिने फेसबुकले जनाएको छ ।

यस्ता छन् कार्यक्रम
टेकक्रन्चले प्रकाशित गरेको फेसबुकको वाचमाप्रशारण हुने कार्यक्रमको सूचीअनुसार यसलेकमेडीदेखि खेलकुद र संगीतसम्मका विषय समेट्छन् । कार्यक्रमको सूचीमा सेलिब्रेटीका गतिविधिदेखि फर्निचर कसरी बनाउने भन्नेसम्म काकार्यक्रमहरू यसमा समावेश छन् । यसको लागि केही भिडियो निर्माता कम्पनी बाहेक आफैंमा चर्चित रहेका भिडियो ब्लगरहरूले बनाएको कार्यक्रमसमेत फेसबुकमार्फत सुरुमाप्रशारण हुनेछन् ।

यूट्युवसँगप्रतिस्पर्धा
फेसबुकको यो फिचरले सबैभन्दा बढी प्रतिस्पर्धा यूट्युवसँगगर्नुपर्ने हुन्छ । यूट्युवअहिले भिडियो कन्टेन्टको लागि सबैभन्दाधनी छ । र, अधिकांश टेलिभिजनकार्यक्रमहरू यूट्युवमाउपलब्ध छन् । धेरै निर्माताहरू यूट्युवका लागि मात्रै कार्यक्रम उत्पादनपनि गर्छन् । यसबापतउ नीहरूले यूट्युवबाट पैसा पनि पाउँछन् ।
तर, फेसबुकले आफूमार्फत मात्रै प्रशारण हुने विभिन्न कार्यक्रम प्रशारण गर्न सुरु गरेर निर्मातालाई पैसा दिनु ठ्याक्कै यूट्युवमोडल हो । यसका कारण यूट्युवमा अपलोड हुने भिडियोको संख्या बृद्धि भएको थियो । यूट्युवमा डेढ दशक अघि देखिका करोडौं भिडियोहरू छन् जति संख्या बनाउन मात्रै फेसबुकलाई अझैं वर्षौ मात्रलाग्न सक्छ ।
तर, फेसबुकबाट प्रशारण हुने कार्यक्रमहरू प्रयोगकर्ताले रूचाउनथालेभने यसको सोझो असर यूट्युवलाई पर्न सक्छ । र, निर्माताहरूले पनिप्रयोगकर्ताको संख्या र आम्दानीकाहिसाबले फेसबुकलाई रोज्न थाले पनित्यसको घाटा यूट्युवलाई नै हुन्छ । अहिले विश्वको ठूलो संख्याले आफ्नो दैनिकीको केही घन्टा फेसबुकमै बिताउँछ ।
यो फेसबुकको लागि सबैभन्दा फाइदाका पक्षहो जसकाकारण उसले सुरु गर्ने भिडियो कार्यक्रमलाई लोकप्रिय बन्न समय नलाग्ला । अघिल्लो वर्षको जनबरीमा फेसबुकले प्रकाशित गरेको तथ्यांकअनुसार फेसबुकमा उक्त समयमा दैनिक एकसय मिलियन घन्टा बराबरको भिडियो हेरिन्छ । र,यसले भिडियोको लागि यूट्युवको निर्भरतालाई चुनौतिदिइरहेको छ ।
फेसबुकको यो कदम यूट्युवको लागिमात्रै नभएर टेलिभिजनहरूका लागि पनि चुनौति हुन् । टेलिभिजनमा प्रशारण हुने शृंखलावद्ध कार्यक्रम मोबाइलमै वा ल्यापटपमै फेसबुकबाट हेर्न मिल्ने भएपछि सायद मानिसलाइर् किन टेलिभिजन चाहियो ? तर, टेलिभिजनले दिने विविध विषयका विविध कार्यक्रम फेसबुकमै भेटिन अझैं केही समय लाग्ला ।
–एजेन्सीको सहयोगमा

हेल्लो शुक्रवार

बोलेरै नेपाली टाइप

अब नेपाली भाषामै आवाजमार्फत निर्देशन दिएर टाइप गर्न सकिन्छ ।
- हेल्लो शुक्रबार

मानिसले आवाजमार्फत दिएको निर्देशनबाट मोबाइलमा विभिन्न किसिमको काम गर्न सक्ने प्रविधि हामीलाई थाहै छ । भ्वाइस रिकग्निसन भनिने यस्तो प्रविधि धेरै अघि बढिसकेको छ । अंग्रेजी नजान्ने वा राम्रो उच्चारण गर्न नसक्ने नेपालीको लागि यो प्रविधि त्यति उपयोगी थिएन । अब भने नेपाली भाषामै पनि बोलेर टाइप गर्न सकिने भएको छ ।
गुगलले अघिल्लो वर्ष सार्वजनिक गरेको आफ्नो भर्चुअल किबोर्ड (जसलाई गुगल किबोर्ड वा जीबोर्ड भनेर चिनिन्छ) मा बोलेर टाइप गर्न सकिने गरी नेपाली भाषा समावेश गरेको छ । यसको अर्थ हो टाइप गर्नुको सट्टा अब बोलेरै म्यासेज पठाउने, विभिन्न एपबाट च्याट गर्ने, स्टाटस लेख्न सकिन्छ । गुगलले यसै साता नेपाली सहित ३० भाषालाई जीबोर्डमा समावेश गरेको हो ।
गुगलले यसै साता आफ्नो ब्लगमार्फत यसको जानकारी दिएको थियो । गुगलले ब्लगमा जनाएअनुसार स्थानीय भाषाविद्हरुसँगको सल्लाहमा यसलाई तयार पारिएको हो । गुगलका अनुसार अहिले जीबोर्डमा समावेश गरिएका यी भाषालाई विस्तारै गुगल ट्रान्सलेटसहितका अन्य प्रडक्टहरुमा पनि समावेश गरिनेछ ।
यसको अर्थ हो सायद केही पछि नेपाली भाषाका आवाजलाई अन्य भाषा अनुवादन पनि गर्न सकिनेछ । नेपाली भाषा गुगल ट्रान्सलेटमा पहिल्यै जोडिइसकेको छ । अहिले नेपाली अक्षरलाई अंग्रेजीसहित अन्य विभिन्न भाषामा र अन्य विभिन्न भाषाका अक्षरलाई नेपाली भाषामा ट्रान्सलेटमार्फत अनुवाद गर्न सकिन्छ ।
जीबोर्डमा आवाजमार्फत नेपाली टाइप गर्न सकिने भए पनि यो धेरै शुद्ध भने छैन् । तर, प्रयोगकर्ताले जति धेरै यसको प्रयोग गर्छन् यो त्यति सुधारिदै जानेछ । आवाजमार्फत टाइप गराउनु सजिलो त छ नै यसले टाइप गर्न नसक्नेहरुलाई समेत राहत दिन्छ । भ्वाइस डिक्टेटमार्फत टाइप गराउनु हातले टाइप गर्नुभन्दा तीन गुणा छिटो हुने गुगलले जनाएको छ ।
कसरी गर्ने प्रयोग
–एन्ड्रोइड प्ले स्टोरमा गएर गुगल किबोर्ड डाउनलोड गर्नुहोस् ।
–डाउनलोड भएलगत्तै सेटिङ अप्सन आउँछ जसमा नेपाली भाषा छान्नुहोस् । र, जीबोर्डलाई डिफल्ट किबोर्ड बनाउनुहोस् ।
–अब तपाईंको किबोर्डको माथिल्लो भागमा दायाँपट्टी स्पिकर चिन्ह देख्नुहुनेछ । जसमा चिथेर तपाईंले आवाजमार्फत दिएको निर्देशनअनुसार टाइप गर्न सक्नुहुनेछ ।

हेल्लो शुक्रवार

हार्डवर्कर ठिटो

- विमल खतिवडा

जसले सपना साँच्छ । पूरा गर्न उ अहोरात्र मेहनत गर्छ । उदाहरण हुन्, चितवनको विकट राप्ती नगरपालिका ११ स्थित कोराकका विश्वास चेपाङ । यी २५ वर्षीय ठिटो उच्च शिक्षा अध्ययनका लागि विदेश छन् । समर भ्याकेसनमा अरु साथी घर गए । कोही नयाँ देश घुम्न तिर लागे । २ महिनाको भ्याकेसनमा उनले आधा छुट्टि उतै कटाए । बाँकी छुट्टि सदुपयोग गर्दै घर आए । गाउँघर प्यारो लाग्छ । त्यही भएर त गाउँ र समाज परिवर्तन गर्ने सोचका साथ विदेश हानिए । पुग्न निकै स्ट्रगल गर्नु पर्‍यो । ६ बर्षको उमेर हुँदा आमा अलग भए ।
उनी टुहुरो बने । गाउँकै स्कुलमा कक्षा १ पढे । त्यो बेला पढ्ने भन्ने थाहा थिएन । पढ्न भन्दा विद्यालयमा खेल्न जान्थे । घर राम्रो थिएन । भोकमारीले वर्सेनि सताउँथ्यो । अहिले पनि अवस्था उस्तै छ । बुबा सांझ विहानको छाक जुटाउन ज्याला मजदुरीको काम गर्न जान्थे । घर आउन भ्याउँदैनन थिए । अरुको साहारमा बांच्नु पर्ने बाध्यता थियो । ‘पढ्ने रहर थियो,’ उनी सुनाउँछन्, ‘बुबाले बोकेर पर्साको अन्तोदय जनजाति आवासिय विद्यालय पुर्‍याउनु भयो ।’
बुवाले स्कुलकै भान्सामा काम गर्ने सहमतिमा उनले पढ्न पाए । ३ कक्षामा भर्ना भए । पढाइमा मेहनत गरे । एकदिन बुढानिलकण्ठ स्कुल काठमाडौंको अवारनेश क्लबका मेम्बर चेपाङ वालवालिका पढेको स्कुल हेर्न आए । उनीहरूको अवस्था देखेपछि एक विद्यार्थीलाई बुढानिलकण्ठमा पढ्ने अबसर दिने निधो गरे । त्यसकालागि ४ जनासँग प्रतिस्पर्धा गर्न निस्किए । परीक्षा भयो । पहिलो नम्बरमा उनकै नाम निस्कियो । उनी भर्ना भए ।
‘अंग्रेजी कमजोर थियो । बुढानिलकण्ठमा हरेक क्षण अंग्रेजीमा संवाद गर्नु पथ्र्यो,’ उनी भन्छन, ‘एकदमै स्ट्रिक थियो, मैले ब्रोकन अंग्रेजी बोल्थे, सुनेर सबै हांस्थे ।’ ४ कक्षामा भर्ना भएका उनी अग्रेजीमै फेल भए । अरुले भए भए फेल हुने छुट पाउंदैनन थिए । गाउँबाट आएको भएर एक पटकका लागि चान्स पाए । ‘म गाउँबाट गएको मान्छे, सारै गाह्रो थियो,’ उनी भन्छन, ‘काठमाडौंकासँग प्रतिस्पर्धा गर्न झन मुस्किल थियो ।’ नभन्दै ०६५ सालमा उनले ७५.५० प्रतिशत अंक ल्याएर एसएलसी उत्तिर्ण गरे ।
एसएलसी पासपछि उनकालागि २ अपसन्स थिए । प्लसटु पढ्ने की ए लेभल ? ए लेभल रोजे । २ वर्षको कोर्स थियो । नाम निकाले । पढ्न पाए । ‘म्याथमा एकदमै कमजोर थिएं,’ उनी भन्छन, ‘एसएसली दिनसाथ ए लेभलको तयारी गरे, जसले गर्दा सजिलो भयो ।’ उनलाई बुढानिकलण्ठमा पेस्तालोजी ओभरसिज चिल्ड्रेन ट्रस्ट युकेले ए लेभल सम्म पढ्न डोनेट गरेको थियो । उक्त स्कुलमा पढ्दा बाहिरी लाइफबारे थाहा हुदैन थियो ।
ए लेभल सकिएपछि ब्याचलर पढ्न ठूलै सकस भयो । घरबाट पैसा पठाउन सक्ने अबस्था थिएन । ‘स्कुलमा हुंदा चेपाङ भन्न लाज लाग्थ्यो, प्रजा भनेर परिचय दिन्थे,’ उनी भन्छन, ‘विद्यालयबाट बाहिर निस्किएपछि आफूलाई चेपाङ भनेर चिनाउन थाले ।’ कलेज धाउन थाले । जहाँ जान्थे, भन्थे, म चेपाङ हुं । अनि, मैले बुढानिलकण्ठबाट ए लेभल पास गरेको छु । दर्जन कलेज चाहारे । रेस्पोन्च गर्ने कमै निस्किए ।
‘के एन के कलेजमा म चेपाङ हो, बुढानिकलण्ठ पढेको हो भन्दा भर्ना गर्न तयार भए,’ उनी भन्छन,‘ स्कलरसिप दिए । पढ्न पाएं ।’ उनले ब्याचलर इन सोसल वर्क लिए । सँगै पढेका प्राय: साथी विदेश पलायन भइसके । ‘मलाई विदेश जाने रहर पलायो । तर पढ्नका लागि मात्र,’ उनी भन्छन,‘ म माथी मेरो समुदाय र गाउँ परिवर्तन गर्ने अभिभारा छ । पलायन हुने सोच कहिल्यै पलाएन ।’ पढ्ने ठाउँ पाएपनि बस्ने ठाउँ थिएन । होस्टल, बाल सुधार गृह र सीप सिकाउने ठाउँमा समेत गएर बस्ने खर्च जुटाए ।
ब्याचलर सकियो । अब मास्टर्स गर्न कता जाने । दोधारमा परे । ‘जीवनमा सबै भन्दा ठूलो पढाइ रहेछ,’ उनी भन्छन, ‘यही पढाई नहुँदा मेरो समुदाय अझै ढुंगे युग जसरी जीवनयापन गरी रहेको छ ,त्यही भएर म माथी सबैको विश्वास र भरोसा छ । त्यसैले जसरी पनि मास्टर्स पढ्नु नै थियो ।’ उनले बुढानिलकण्ठ पढेका सिनियर दाइहरूलाई आफू विदेशमा मास्टर्स पढेर नेपाल फर्किने समेटिएको लामै म्यासेज पठाए । थोरैले रिप्लाई गरे ।
उनले सिनियर दाइहरूकै माध्यमबाट यूकेको एउटा कलेजको वेटसाईटको लिंक पाए । युनिभर्सिटि अफ लिंकन अफ यूकेको । त्यसमा अनलाइन एप्लिकेसन फर्म भरे । आवश्यक पर्ने सबै डकुमेन्ट अनलाइएनबाटै पठाए । यसका लागि कुनै शुल्क लागेन । जवाफमा तपाईलाई स्कलरसिपमा सेलेक्ट गर्न सकेनौं । तर पेयमेन्ट गरेर पढ्न आउन सक्नु हुन्छ । हामी भर्ना लिन तयार छौं भन्ने म्यासेज आयो । नाम वेटिङ लिस्टमा पर्‍यो । आश थिएन ।
महिना दिनपछि कलेजबाट रिप्लाइ आयो, ‘बधाइ छ । स्कलरसिपमा सेलेक्ट हुनु भयो । पढ्न आउन सक्नु हुने छ ।’ खुशीको सीमा रहेन । तर फेरि अर्को समस्या आइपर्‍यो । आईएलटीएस गर्नु पर्‍यो । डेट पाउन सकेनन । बल्ल तल्ल पाए । नभन्दै जति चाहिने, त्यति नै स्कोर ल्याए । कलेजमा इरासमस मुन्डुज छात्रवृत्ति पाए । अहिले काइदा छ । ५ देश घुम्दै पढ्नु पर्छ । ४ सेमेस्टर हुन्छ । एउटा सेमेस्टर ५ महिनाको । सेमेस्टवाइज देश घुम्दै पढ्न पाइन्छ ।
खर्च लाग्दैन । यूके, डेनमार्क, पोल्यान्ड, पोर्चुगल र फ्रान्स पढ्ने देश हुन् । यूकेबाट सुरु भएको पढाइ फ्रान्समा पुगेर टुंगिने छ । तेस्रो सेमेस्टरका लागि पोर्चुगल जाने तयारीमा छन् । चौथो सेमेस्टरमा रिसर्च गर्नु पर्ने हुन्छ । उनले आफ्नै समुदायबारे रिसर्च गर्ने तयारी गरेका छन् । ‘कम्युनिटी इन्गेजमेन्ट एन्ड सोसल इन्टरप्रेनरसिपमा रिसर्च गर्दै छु,’ उनी भन्छन, ‘रिसर्चबाट राम्रो प्रोजेक्ट डेभलभ गरेर यही क्षेत्रमा काम गर्न मन छ ।’ नेपालमा सोसल वर्करको भ्यालु छैन । पढाइ सकेर फर्किएपछि सोसल वर्कर बनेर समाजको सेवा गर्ने धोको उनको छ ।

तस्बिरहरू : विमल

Page 27
हेल्लो शुक्रवार

गुँला बाजामा युवा आकर्षण

- दामोदर न्यौपाने

एक हुल आफ्ना चेलाका साथ स्वयम्भु मन्दिरमा भेटिए भक्तपुरका जुजु वज्राचार्य । बाजागाजा सहित स्वयम्भु गएको श्री विश्वकर्मा गुँला बाजा खल : टोलीको हातमा धाँ, खिँ, टिन्छु, भुस्या र बाँसुरी मुख्य बाजा पनि थिए । स्कुल जाने उमेरका बालबालिका देखि कलेज जाने उमेरका युवायुवतीका गुरु हुन् बज्राचार्य । ‘मैंले पनि १० वर्षको उमेरदेखि बाजा बजाउन शुरु गरेको हुँ,’ उनी भन्दैथिए, ‘अहिले युवायुवतीलाई सिकाउँछु । युवा पुस्तामा अचेल जात्रा, चाडपर्व, बाजागाजामा आकर्षण बढेको छ । लोप हुनै लागेका कतिपय परम्परा पनि अचेल व्युँझदै छ । यसो हुँदा परम्परा पनि जागिन्छ । रमाइलो पनि हुन्छ ।’
यी ३८ वर्षीय बज्राचार्यले २२ वर्षदेखि भक्तपुर क्याथ्डौंको प्रसन्नशिल महाविहारमा गुँला बाजा सिकाइरहेका छन् । उपत्यकाका विहार र बहिमा विहान भीडभाड बढेको छ अचेल । विहान ४ : ३० बजे गुँला बाजा सहित जम्मा हुन्छन् । ५ बजेतिर बाजा बजाउँदै स्वयम्भुतिर अघि बढ्छन् । त्यहाँ पुगेर पुजापाठ गर्छन् । अनि त्यही बाटो भएर फर्कन्छन् । बाजा बजाउँदै हिंड्नेमा युवाहरुको बाहुल्यता देखिन्छ । गुठीको चिनारी झल्कने पोशाक सहित भेटिन्छन् युवाहरु । ‘अहिले बाजा बजाउने युथ बढी छ,’ वसन्तपुरका अनिल तुलाधर भन्छन्, ‘पहिला लोप होला जस्तो भएको थियो । अहिले सबै जात्रा पर्वमा एकितृत भएका छन् । तर मनाउनुको अर्थ थाहा छैन धेरैलाई । यसको अर्थ बुझाउनु पर्छ ।’
गुला बाजा बजाउने मध्येका हुन् अनिल पनि । उनी ९ वर्षको उमेरमै विहारमा सिक्न गए । सिक्ने विधि हुन्छ । विहारमा एक महिनासम्म सिकाइन्छ । ‘पहिला लेवल सिकियो । पहिलो वर्ष द्यल्हयाउ सिकेका थियौं । यो देवताको ठाउँमा जाँदा बजाउनु पर्छ । पहिला मुखैले आवाज निकाल्न सिक्नु पर्छ । आवाज निकाल्न सिकेपछि हातले तिघ्रामा बजाउन सिकियो । देब्रेतिर के के हान्ने, दाहिनेतिर के के हान्ने भनेर सिकियो । बोली सिक्नु पर्छ,’ अनिल उदाहरण दिन्छन्, ‘दाहिनेमा घें, खें आउँछ । देब्रेमा चा, ना.. आउँछ ।’ मुखले आवाज निकाल्न र हात व्यालेन्समा राख्न जानेपछि बल्ल बाजा पाइन्छ ।
‘चाडैं सिकोस भनेर थाइमा बजाउन सिकाएका हुन्,’ अनिल भन्छन्, ‘थाइमा बजाएको बानीमा बाजामा बजाउँदा झुक्किन्छ ।’ दोस्रो वर्ष व्गरा धुन सिकाइन्छ । ग्वारा २३ थरीको हुन्छ । ग्वारा धुन बसेर बजाउनु पर्छ । स्वयम्भु जाँदा पनि यो धुन एकै ठाउँमा २०/२५ मिनेट बसेर बजाइन्छ । ‘अरु हिंडेर बजाउनु पर्छ,’ अनिल भन्छन्, ‘ग्वारा चाहिं वहा, वहि वा देवताको आँगनमा बसेर बजाउनु पर्छ ।’ स्वयम्भु र बौद्धमा गुँला महिनामा देवतालाई खुशी पार्न बजाइने बाजा हो यो । यो वाजा नेवार जातीभित्रका तुलाधर, मानन्धर, ताम्राकार, कंसाकार, शिख्रकार, शाक्य र महर्जनले बजाउने गर्छन् । स्वयम्भु पुग्न नसक्नेले घरमै बसेर पनि बाजा बजाउने चलन छ । घरमै बसेर बजाउने बाजालाई चाहिं दाफा भनिन्छ ।
नेपाल संवतअनुसार दशौं महिनामा गुँला पर्व मनाइन्छ । भाद्र औंशी तिथी यो महिनाको अन्तिम दिन हो । दशौं महिनालाई नेपाल संवत्मा ‘गुँला’ को नामले चिनिन्छ । यो महिनालाई नेवार समूदायमा विशेष महत्त्वको रूपमा लिइने संस्कृतिविद् यज्ञमान पति बज्राचार्य बताउँछन् । बज्राचार्यका अनुसार यो संकटको महिना हो । संकटै संकट आइपर्ने भएकाले कलियुगको रूपमा समेत पुकारिने उनी बताउँछन् । त्यही भएर यो महिना पुजापाठ र दानधर्ममा बिताइन्छ । वज्राचार्यका अनुसार गुँ भनेको जंगल र ला भनेको महिना हो । ‘यस अर्थमा यो जंगली महिना महिना हो । जंगली हुनुको अर्थ असभ्य हुनु हो । कानुनको व्यवस्था नहुनु हो । जंगली न्याय भनेको भनेको न्याय नै नहुनु हो । न्याय नहुनु भनेको असभ्य समाज हो । कालो कानुन हो । जसलाई जे मन लाग्छ, त्यही गरिदिने हो । जो बलियो छ, त्यसले खाइदिने, निर्धाे हेरेको हेरेइ हुने हो,’ वज्राचार्य भन्छन्, ‘यस्तौ न्याय भनेको मत्स्ये न्याय हो । मत्स्य न्याय भनेको ठूलो माछाले साना माछालाई खाइदिने हो । बलियोले निर्धालाई खाने भनेको असभ्य हुनु हो । यो समय असभ्य समय हो ।’
यही समयलाई बज्रायान दर्शनमा कलियुग भनिएको छ । वज्राचार्यका अनुसार यो महिनामा जताततै संकटै संकट देखिन्छ । धान रोपेको हुन्छ तर पाकेको हुँदैन । त्यसैले भोकमरीको समस्या यही बेला देखिन्छ । खानेकुराको अभावले चोरी डकैती यही बेला बढ्छ । बाढी पहिरोले यही बेला दुख दिन्छ । अति बृष्टि हुन्छ । रोगव्याधीको प्रकोप बढ्छ । झाडाबान्ता, टाइफाइड जस्ता समस्या यही बेला देखिन्छन् । ‘गुँला भनेको नराम्रो महिनाको विम्ब हो । यो समयमा यस्तै देखिन्छ,’ वज्राचार्य भन्छन्, ‘संस्कृतिमा पनि विज्ञान छ ।’
कलियुगको चरम सिमाबाट मुक्त हुने अपेक्षा राखेर यो महिनाभर विभिन्न पुजापाठ गरिन्छ । महिनादिन भर विहार र वहिहरूमा पुजापाठ गरिन्छ । हरेक दिन विशेष बाजा बजाइन्छ । दान धर्म गरिन्छ । महिनाको सबैभन्दा ठूलो पर्व पञ्चदान मनाइन्छ । ‘दान दिनु भनेको मैत्री भाव प्रदर्शन गर्नु हो,’ वज्राचार्य भन्छन्, ‘जसले मैत्रीभाव प्रकट गर्दैन, उसले बौद्ध धर्म बुझ्दै बुझ्दैन ।’ पञ्चदान गर्ने दिन बज्रयान संप्रदाय दिपंकर बुद्धको पुजा गर्छन् । वौद्ध समूदायमा महायान्, हिनयान र बज्रयान गरी तीन समूदाय छन् । यसमध्ये महायान समूदायले मूर्ति पुजा गर्दैन । पञ्चदान विहार र बहिमा गरिन्छ ।
विहार भनेको बौद्ध दर्शन पढाइने स्वतन्त्र विश्वविद्यालय जस्तै हो । पहिला विहारमै पढाइ हुन्थ्यो । अचेल यस्तो प्रचलन कमी हुँदै गएको छ । काठमाडौंमा १८ वटा विहार छन् । विहार १८ वटा हुनुको पछाडी पनि बौद्ध दर्शन छ । बौद्ध दर्शन स्थवीरवादी र महासांगिकवादी गरेर दुई भागमा विभाजन भयो । भगवान बुद्धले जे जे दर्शन स्थापित गरेका छन् त्यही हुनु पर्छ भन्ने मान्यता राख्ने समूह स्थवीरवादी हो । यो समूह घरमा वस्दैन । घरगृहस्थी गर्दैन । महासांगिकवादी दर्शनमान्नेहरू समय अनुसार वुद्ध दर्शन परिवर्तन हुनु पर्छ, परिवर्तन गर्दै जानु पर्छ भन्ने मान्यता राख्छ । यो दर्शन पनि टुक्रा टुक्रामा विभाजन भयो । त्यही १८ वटा दर्शनमा १८ विहारको परम्परा शुरु भएको वज्राचार्य बताउँछन् । ललितपुर र भक्तपुरमा पनि १८ वटै विहार छन् । ललितपुरमा श्रावण शुक्ल अष्टमीको दिन पञ्चदान मनाइन्छ ।