You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 3
गृह पृष्ठ

नेपालमै रेल पुर्‍याउँछौं : चीन

‘केरुङ आउने रेललाई पहिलो चरणमा काठमाडौं, दोस्रो चरणमा पोखरा र लुम्बिनीसम्म’
चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग बिहीबार बेइजिङमा भेटवार्ता गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा । नेपाली दूतावास

भए दुई सम्झौता
१. ऊर्जा उत्पादन र अन्तरदेशीय प्रसारण लाइन विस्तार
२. चीनका विभिन्न ठाउँमा बुद्धका मूर्ति राखिनेचन्द्रशेखर अधिकारी

चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन् । ‘सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्‍याउनेछ,’ चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री लीले राखेको धारणा उद्धृत गर्दै सहभागी एक सदस्यले भने, ‘नेपालमा रेल पुर्‍याउने विषयमा राजनीतिक तवरबाट नभई भूगोलको हिसाबले व्यापक अध्ययन गुर्नपर्ने भएकाले लामो प्राविधिक अध्ययनहरू भइरहेको छ ।’

‘परराष्ट्रमन्त्री महराले रेल हाम्रो आवश्यकता भइसकेको भन्दै आफ्नो धारणा राख्नेबित्तिकै प्रधानमन्त्री लीले चीनले नेपालसम्मै रेल पुर्‍याउन गृहकार्य गरिरहेको बताएका हुन्,’ ती सदस्यले टेलिफोनमा कान्तिपुरसँग भने, ‘उनले रेलमात्र होइन, नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्ध साँच्चै आत्मीय रहेकाले यसलाई विकास गर्न पनि आपसमा यस प्रकारको सहकार्य आवश्यक रहेको बताए ।’ उ

पप्रधानमन्त्री महराले नेपाल–चीन अन्तरदेशीय रेललाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउन मुख्य राजनीतिक दलहरूको धारणा समान रहेको जानकारी गराएका थिए । उनले आफू चीन आउनुअघि सबै दलका नेताहरूसँग भेटवार्ता गरेर समान धारणा बनाएको समेत बताएका थिए ।

चीनले पटक–पटक नेपाललाई ‘दक्षिण एसियाको ढोका’ भनिरहेको अवस्थामा रेल मार्ग आफैंले जोड्ने विषय उच्च तहबाटै बाहिर आएको हो । सिगात्सेबाट केरुङ ल्याउन लागिएको निर्माणाधीन रेलमार्गलाई पहिलो चरणमा काठमाडौं ल्याउनेबारे अध्ययन भइरहेको र त्यसपछि काठमाडौंबाट पोखरा र लुम्बिनीसम्म लैजानेबारे पनि तत्काल अध्ययन थालिने चीनको भनाइ छ ।

परराष्ट्रमन्त्री महराले चिनियाँ समकक्षी वाङ यीसँग तीन घण्टा लामो दुईपक्षीय लन्च वार्तापछि प्रधानमन्त्री लीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा लिले चीनले नेपाललाई प्राथमिकतामा राखेको र धेरै विषयमा सहयोग गर्न चाहेको स्पष्ट पारेका थिए । सडक सञ्जालदेखि व्यापार, पुनर्निर्माण, ऊर्जा र पर्यटनको क्षेत्रमा समेत सहयोग गर्न लागेको जानकारी दिएका थिए । उनले नेपालमा लगानी गर्न चिनियाँ जनता उत्साहित रहेको भन्दै त्यस्तो वातावरण बनाउनसमेत आग्रह गरेका थिए । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र तेस्रो चरणको निर्वाचनबारे समेत छलफल भएको थियो ।

चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मार्फत नै नेपालको राष्ट्रिय विकासलाई गति दिने गरी सहयोगहरू हुने जानकारी उनले दिएका थिए । बीआरआईमा नेपालले समर्थन गरेर चीनको ‘मोरल भ्यालु’ उच्च बनाइदिएकोमा समेत प्रधानमन्त्री लीले खुसी व्यक्त गरेको सहभागीले जानकारी दिए । चीनको मुख्य व्यापारिक पार्टनर रहेको छिमेकी भारतले बीआरआईमा असहमति राखिरहेको अवस्थामा नेपालले समर्थन गरेको थियो ।

दुवै भेटवार्ता निकै महत्त्वपूर्ण रहेको उपप्रधानमन्त्री महराले बताए । यसअघि डेलिगेसनस्तरको वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपाल–चीन सम्बन्धको खुलेर प्रशंसा गर्दै बीआरआईमा नेपालले देखाएको सक्रिय सहभागिताले चीन निकै खुसी रहेको बताएका थिए । ‘नेपाल र चीन असल छिमेकी मात्र नभई सच्चा साझेदारसमेत हो,’ वाङले भने, ‘पछिल्ला वर्षहरूमा नेपाल राजनीतिक रूपान्तरणको चरणमा रहँदा पनि नेपाल–चीन सम्बन्ध निकै स्वच्छ रूपमा अघि बढेको छ ।’ नेपाल र चीनको सम्बन्ध जनस्तरमै रहेको भन्दै यसलाई भाषाबाट समेत जोड्न चाहेको उनले बताए । भेटमा महराले नेपाल सधैं एक चीन नीतिमा प्रतिबद्ध रहेको धारणा राख्दै नेपालको भूमि चीनको सार्वभौमविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

महराले लीसँगको भेट अघि नै चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलवेको सम्भाव्यता अध्ययन छिट्टै थाल्ने र त्यसको काम अघि बढाउने विषयमा समकक्षी वाङसँग दुईपक्षीय छलफल भएको जानकारी दिएका थिए । बीआरआईको अवधारणामा नेपालको भौतिक पूर्वाधारका साथै रेलवे र रोडसहित क्रसबोर्डर सहकार्य, व्यापार, पर्यटन र लगानी वृद्धि हुने विश्वास नेपालले लिएको उनले बताएका थिए ।

नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल चीनले आफ्नो धारणासहित छिट्टै नेपाल सरकारलाई पठाउने जनाएको छ । उपप्रधानमन्त्री वाङ याङको चार साताअघि भएको नेपाल भ्रमणमै त्यो विषयमा छलफल भएको थियो । पारवहन सम्झौता भए पनि त्यो विषयलाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने प्रोटोकलमा अझै हस्ताक्षर हुन सकेको छैन ।

गृह पृष्ठ

उम्मेदवारीसँगै अन्तरकलह

- कुलचन्द्र न्यौपाने,सन्तोष सिंह
धनुषा जिल्लाको नगरायन नगरपालिकाका कांग्रेसका मेयर उम्मेद्वार परमेश्वर यादव फुलगमा बजारमा जम्मा भएका सर्वसाधारणसँग भोट माग्दै । तस्विर : हेमन्त श्रेष्ठ/कान्तिपुर
  • मुख्य समस्या कांग्रेस र राजपामा
  • एमालेमा थामथुम, माओवादीले सुरुमै मिलायो


प्रदेश २ का ८ वटै जिल्लामा उम्मेदवार छनोटको बिषयलाई लिएर प्रमुख
राजनीतिक दलमा आन्तरिक कलह चर्केको छ । त्यसले चुनावी प्रचारलाई समेत प्रभाव पारेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपाको आन्तरिक विवादले कार्यकर्तामाझ अन्यौल खडा गरेपछि नेताहरुलाई चुनावी कार्यक्रमतिर भन्दा आन्तरिक व्यवस्थापन गर्नै अलमल भएको छ ।

अन्य दलका तुलनामा कांग्रेस र राजपाका कार्यकर्तामा बढी असन्तुष्टी देखिन्छ । मधेसमा १ नम्वर पार्टी बन्ने प्रतिस्पर्धामा रहेका यी दुवै दलमा देखिएको भित्री झगडा समयैमा व्यवस्थापन गर्न नसके त्यसको लाभ एमालेलगायत मधेस केन्द्रित अन्य दलले लिन सक्ने समीक्षा पनि सँगसँगै भइरहेको छ ।

असन्तुष्टीकै कारण पार्टीबाट विद्रोह गरी उम्मेदवार दिनेहरु पनि अघिल्ला चरणका तुलनामा प्रदेश २ मा बढी छन् । उपमेयरका तुलनामा मेयरमा बढ्ता स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र भएर उठ्नेमा सवैभन्दा बढी वडा अध्यक्षका आकांक्षी छन् । वीरगन्ज महानगरपालिकामा राजपा नेता विमल श्रीवास्तव पार्टीले टिकट नदिएपछि फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका छन् । राजपाका सांसद जंगीलाल राई औपचारिक रुपमै पार्टी छाड्ने तयारीमा छन् । उनी निकटका नेताहरु एमालेबाट टिकट लिएर चुनावी मैदानमा आएका छन् ।

जनकपुरका बुद्धिजिवी एवं प्राध्यापक सुरेन्द्र लाभले अघिल्ला चुनावमा भन्दा मधेसमा यसपटक उम्मेदवारको बिषयमा चर्को असन्तुष्टी देखिएको बताए । कार्यकर्तातहमा देखिएको यो असन्तुष्टीले अन्र्तघातको रुप लिएमा त्यसको सवैभन्दा असर कांग्रेस र राजपालाई पर्ने उनको ठम्याइ छ ।

उम्मेदवारी दिंदा नेताहरुले इमानदार, पार्टीमा लामो समय क्रियाशील र सघर्ष गरेकालाई भन्दा आर्थिक हैसियतमा रहेका, नेताका वरीपरी घुम्ने र नातागोतालाई च्यापेको उनीहरूको आरोप छ ।

‘एउटा होइन, सवैजसो पार्टीले पैसा खुवाएर उम्मेदवार बनाए । राम्रालाई होइन आफ्नालाई दिए भन्ने गुनासो व्याप्त छ । यस्तो असुन्तुष्टी नभएको २ नम्वर प्रदेशमा कुनै दल छैन’, लाभ भन्छन्, ‘असन्तुष्टी भएपछि अन्तर्घात गर्ने संस्कृति छ । यसलाई नेताहरुले कसरी व्यवस्थापन गर्छन्, त्यसपछि मात्रै चुनावको परिणाम आंकलन गर्न सकिन्छ ।’

नेताहरुले टिकट दिंदा मधेसका जातिय बाहुल्यलाई पनि प्रमुख आधार बनाएका छन् । जसले अन्य अल्पसंख्यक जाति असन्तुष्ट छन् । जनकपुर उपमहानगरपालिकामै सवैजसो दलले साह थरकालाई उम्मेदवार बनाएका छन् । कांग्रेस, एमाले, राजपा, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयां शक्ति नेपाल र फोरम लोकतान्त्रिकले साह थरकालाई छानेका छन् ।

धनुषाको पूर्व तथा दक्षिणमा यादव थरकालाई उम्मेदवार बनाइएको छ । उत्तरी क्षेत्र थारु बाहुल्य हो । अधिकांश दलले त्यहाँ थारुलाई उम्मेदवार बनाएका छन् । धनुषा मात्रै नभएर मधेसका ८ वटै जिल्लामा यस्तो अवस्था देखिन्छ । ‘यस्तो संस्कृति लोकतन्त्रको विकृति हो’, लाभले भने, ‘राम्रो मान्छे अल्पसंख्यक र बहुसंख्यक दुवैमा हुन सक्छन, जातिय भोटलाई हेरेर उम्मेदवार बनाउनु गलत हो ।’

राजविराजका बुद्धिजिवि शिवहरि भट्टराईले पुराना र त्यागी कार्यकर्तालाई उम्मेदवार नबनाएको गुनासो सवैजसो जिल्लामा देखिएको बताए । राजपाभित्र एकीकरण हुनुअघिका ६ पार्टीका नेतालाई मिलाएर उम्मेदवार बनाउनु चुनौति त थियो नै, कांग्रेसमा पनि त्याग र निष्ठावान कार्यकर्तालाई बन्चित गरियो । ‘नगरपालिकामा चुनाव जित्न करौडौ रुपैया खर्च हुने अबस्था छ । त्यसैलाई हेरेर नेताहरुले पैसा भएका, पर्दा आफूलाई पनि सहयोग गर्ने व्यापारीलाई उम्मेदवार बनाए’, भट्टराई भन्छन् ।

कांग्रेसको प्रभाव नै मधेस मानिन्छ । मधेसका यी ८ जिल्लामा टिकट वितरण गर्दा कांग्रेस नेता विमलेन्द्र निधि हावी भएको गुनासो पार्टीभित्रै छ । गृहजिल्ला जनकपुरमै कांग्रेसमा असन्तुष्टी छ । निधिको आफ्नै निर्वाचन क्षेत्रमा पर्ने नगराईन नगरपालिकामा समेत कांग्रेसको स्वतन्त्र उम्मेदवारी परेको छ । कोषाध्यक्ष सीतादेवी यादवको गृहजिल्ला सिरहामा सवैभन्दा बढी असन्तुष्टि छ । सीतादेवीले आफ्नै छोरा डा. सुवास यादवलाई सिरहा नगरपालिकामा उम्मेदवार बनाएकी छन् । जसको सार्वजनिक रुपमै विरोध भएको छ ।

निधिले भने पार्टीभित्र व्यापक छलफल गरेर उम्मेदवार छनोट गरिएको दावी गरे । ‘सवैले आ–आफ्नो क्षेत्रमा भने अनुसारकै उम्मेदवार पाएका छन्’, उनले भने, ‘अधिकत्तम सहमतिमा उम्मेदवार छनोट भएको छ ।’

एमाले नेता रघुवीर महासेठले पनि उम्मेदवार छनोटमा एकलौटी गरेको भन्दै एमाले कार्यकर्तामा पनि असन्तुष्टी छ । असन्तुष्ट पक्षले विहीबार जनकपुरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए, तर, नेतृत्व तहबाटै थामथुम पारियो । कार्यकर्ता तहमा असन्तुष्टी भने कायमै छ । कांग्रेस र राजपाका तुलनामा भने एमालेको असन्तुष्टी कम छ । बरु मधेसका दुई बलिया शक्ति कांग्रेस र राजपाभित्रको असन्तुष्टीको लाभ लिन एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक लागि परेका छन् ।

राजपाका महासचिव मनिष सुमनले पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्ने काम केन्द्रीय तहबाट बुधबारदेखि नै भईरहेको बताए । उनका अनुसार असन्तुष्टिलाई आउँदो प्रदेश र प्रतिनिधिसभा चुनावमा व्यवस्थापन गरिनेछ ।

‘हो, हामीले थुप्रै योग्यता र क्षमतावान साथीलाई बलिदान गरेका छांै, तर पार्टीको सांगठनिक संरचनमा जिम्मेवारी दिने, आउदो प्रदेश सभा र प्रतनिधि सभा चुनावमा उम्मेदवार बनाउने बिषयमा कुनै कमी हुने छैन भनेर संझाएका छौं’, उनले भने, ‘शुक्रबारदेखि नै केन्द्रीय स्तरमा नेताहरु मधेस झर्छौ । त्यसपछि बांकी असन्तुष्टी पनि मेटिनेछ ।’

कांग्रेसले पनि असन्तुष्टि व्यवस्थापन गर्न यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेतालाई जिम्मा दिएको छ । यस क्षेत्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय स्तरका सवैजसो नेता जिल्लामै छन् । उनीहरुमार्फत पार्टीभित्रको असन्तुष्टी मेटाउने प्रयास भइरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वयं यस क्षेत्रमै लामो समय बसेका थिए । उनै उम्मेदवार छनोट गर्न र असन्तुष्टलाई चित्त बुझाउन लागेकाले माओवादीभित्र ठूलो समस्या आएन ।

मधेसमा पनि अघिल्ला दुई चरणमा जस्तै प्रभाव देखाउन माओवादी केन्द्रले सत्तारुढ कांग्रेसंग तालमेलमै बढी प्रयास गरेको थियो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवहादुर देउवासंग माओवादी अध्यक्ष दाहालले राजमार्ग क्षेत्रमा माओवादीलाई कांग्रेसले सघाउनुपर्ने र राजमार्ग दक्षिणका क्षेत्रमा कांग्रेसलाई आफ्नो पार्टीले सघाउने गरी तालमेलको प्रस्ताव गरेका थिए ।

तर, दुवै पार्टीभित्रको आन्तरिक झगडाका कारण संभव नहुदा धनुषाको मिथिला र बाराको निजगढ नगरपालिकामा मात्रै तालमेल भएको छ । सत्तारुढ दुइ दलबीच तालमेल नहँुदा र आन्तरिक झगडा चर्कदा एमालेमा बढी नै उत्साह छाएको छ । एमाले नेता शत्रुधन महतोका अनुसार एमाले विहानदेखि रातीसम्मै प्रचार प्रसारमा खटिएको छ । एमालेको प्रचार बढी राजमार्ग केन्द्रित देखिएको छ । ‘एक, दुई दिनभित्र कांग्रेस र राजपाभित्रको असन्तुष्टी कसरी व्यवस्थापन हुन्छ, त्यसका आधारमा चुनाव कसको पक्षमा जान्छ भन्ने आकंलन गर्न सकिन्छ’ बुद्धिजीवी लाभ भन्छन, ‘अहिले यी दुई पार्टीको आन्तरिक व्यवस्थापन नै मुख्य चूनौति बनेको छ ।’

 

Page 4
समाचार

महानगरमा ‘महँगो’ भिडन्त

- भूषण यादव

वीरगन्ज– वीरगन्ज महानगरपालिकाको मेयरका लागि बुधबार मनोनयन दर्ता गर्न आउँदा जित्ने सम्भावना रहेका केही उम्मेदवारले बाजागाजासहित ठूलो संख्यामा कार्यकर्ता उतारे । दलको टिसर्ट, टोपी लगाएर झन्डा बोकेका कार्यकर्ता ट्रयाक्टर, जिप र मोटरसाइकलमा उम्मेदवारसँगै वीरगन्ज नगर परिक्रमा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छिरेका थिए । कार्यकर्ताका लागि उम्मेदवारले तेल, खाना र नास्ताको व्यवस्था गरेका थिए ।

उम्मेदवार निकट स्रोतका अनुसार दर्ता गर्ने दिन मात्र एउटा उम्मेदवारको ३ लाखदेखि ७ लाख रुपैयाँसम्म खर्च भएको छ । जनतामाझ लोकप्रिय भएको मनोवैज्ञानिक प्रभाव पार्न भीड जुटाएर तामझामसहित उम्मेदवारी दर्ता गर्न जाने मधेसको पुरानै चलन हो । उम्मेदवारका पछिल्ला चुनावी अभियानले वीरगन्ज महानगरपालिकाको निर्वाचनलाई ‘महँगो’ बनाएको छ । यसले स्थानीय विकासका मुद्दा ओझेलमा पर्ने हुन् कि भन्ने चिन्ता बढेको छ ।
पछिल्लो समय राजनीतिमा पैसावाला हावी भएपछि चुनावी अभियान महँगो बन्दै गएको जानकार बताउँछन् । हरेक चुनावमा प्रचार तडकभडकपूर्ण हुँदै गएकाले राजनीतिक पृष्ठभूमि भएका उम्मेदवारको खर्चसमेत बढिरहेको छ । चुनावी अभियानमा घरदैलोमा जाँदा समाजका अगुवाले गरेको फरमाइस पूरा गर्नैपर्छ । चुनावकै बेला जनताका अनेक समस्या उजागर हुने गरेका छन् । चुनावका मुखमा मन्दिर, मस्जिद, स्थानीय क्लबलाई आर्थिक सहयोग होस् कि बस्तीमा चापाकल जडान गर्न, उम्मेदवार पछाडि परेका छैनन् ।

घरदैलो अभियान पनि तामझामसाथ हुने गरेको छ । ४/५ वटा महँगा गाडी, तीन दर्जनभन्दा बढी मोटरसाइकलमा कार्यकर्ता लिएर उम्मेदवार बिहान र साँझ जनताको दैलोमा पुग्ने गरेका छन् । विकासका एजेन्डा सुनाउनुभन्दा पनि उम्मेदवारले हात जोडेर भोट मात्र माग्छन् । हालै एक पार्टीका नवप्रवेशी उम्मेदवारले २ सातादेखि घरमै भण्डारा चलाइरहेका छन् । वीरगन्जको मुर्ली चौकमा रहेको एक मासु पसलबाट दैनिक सय किलो कुखुराको मासु भण्डाराका लागि जाने गरेको छ । यसका अलावा महानगरका विभिन्न टोलमा पार्टीका युवालाई सक्रिय बनाइराख्न बेलुकीको नास्ताको व्यवस्था गरिएको छ । दलका उम्मेदवारहरूको पछिल्लो चुनावी अभियान नजिकबाट अवलोकन गरिराखेका एक राजनीतिक जानकारका अनुसार जित्न सक्ने उम्मेदवारको कम्तीमा ५ करोड रुपैयाँ खर्च हुने देखिन्छ । नाम उल्लेख नगर्ने सर्तमा एक नवप्रवेशी उम्मेदवारले चुनावका लागि ४ करोड रुपैयाँ छुट्याएको सुनाए । उनले भने, ‘चुनावी अभियानले राम्रो माहोल बनायो भने थप रकमको व्यवस्था गर्ने योजना छ ।’

महानगरका ३२ वडामा १० लाखका दरले ३ करोड २० लाख रुपैयाँ र बाँकी रकम मेयर उम्मेदवारको घरदैलो, कार्यकर्ताका लागि टिसर्ट, टोपी, तुल, झन्डा, ब्यानर, गाडी भाडा, इन्धन, खाना व्यस्थापनमा खर्च गर्ने ती उम्मेदवारले अनुमान निकालेका छन् । अन्तिम अवस्थामा प्रतिस्पर्धामा आइयो भने केही रकम भोट खरिदमा खर्चिने योजनामा उनीहरू छन् । दुई साताअघि राष्ट्रिय जनता पार्टीबाट टिकट पाउन दुई समूहले केन्द्रीय पर्यवेक्षक विजय गुप्ताका अगाडि गरेको शक्ति प्रदर्शनमा एक समूहको झन्डै एक लाख रुपैयाँ खर्च भएको थियो । पार्टीमा आफू प्रभावशाली रहेको देखाउन सयौं कार्यकर्ता ओसारिएको थियो । दुई पक्षको शक्ति प्रदर्शनले त्यस दिनको उम्मेदवार छनोट कार्यक्रम स्थगितै गर्नुपरेको थियो । उम्मेदवारले आफ्नो प्रभाव देखाउन वरिपरि १५/२० जना बलिया युवा राख्छन् । प्रचारका बेला मात्र हैन, यस्ता युवा उम्मेदवार घर वा कार्यक्रममा हुँदा पनि वरपर हुन्छन् । युवालाई ट्रयाकसुट, जुत्ता किनिदिने माग पनि हुन्छ । केही खास कार्यकर्तालाई नयाँ मोटरसाइकल र पछिल्लो समयमा आफ्ना पक्षका सञ्चारकर्मीलाई क्यामेरा, मोबाइल र ल्यापटप खरिद गरिदिने चलन पनि फस्टाएको छ ।
चुनाव खर्चिलो बनाउन मतदाता पनि उत्तिकै दोषी रहेको कांग्रेसका युवा नेता राकेश सिंहको बुझाइ छ । ‘मतदाताको भीड पनि बढी खर्च गर्ने उम्मेदवारकै पछि लाग्ने गरेको छ,’ उनले भने, ‘पैसावाला उम्मेदवारलाई निर्वाचनमा जिताउने कि अस्वीकार गर्ने, त्यो जनताकै हातमा हुन्छ । विकास चाहियो कि भ्रष्टाचार त्यो जनताको मतले निर्णय गर्छ । अबको निर्वाचनले भविष्यको रेखा कोर्छ ।’ मधेसको विकासका लागि उम्मेदवारको चुनावी खर्च कटौती आवश्यक छ । आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारले स्थानीय विकासका लागि सारेको मुद्दाभन्दा पनि कुन उम्मेदवारले कति खर्च गर्न सक्छन्, कति भीड जुटायो भन्ने चर्चा बढी हुने गरेको छ । ‘निर्वाचन मुद्दाविहीन बन्दै गएको छ, जनता पनि प्रिपेड विकासमा विश्वास गर्न थालेका छन्,’ ३५ वर्ष राजनीतिमा बिताएका सिंहले भने, ‘जिताएर विकास गराउनुभन्दा पनि तत्काल आफ्नो आवश्यकता र हैसियतबमोजिम पैसावाला उम्मेदवारसँग माग पूरा गराउन मतदाता लागिपरेका छन् ।’ उनका अनुसार उम्मेदवारहरूले गर्ने मुनाफामुखी लगानीले गर्दा विकासकार्य ओझेल पर्ने त होइन भन्ने विषयमा मतदाता सजग हुनुपर्छ, यसरी खर्च गरेर निर्वाचन जितेपछि नीतिगत भ्रष्टाचार मौलाउँछ ।
ठाकुरराम बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक डा. हरेराम ठाकुरका अनुसार राजनीति एउटा फोहोरी व्यापार पनि हो, जुन अहिलेको समाजमा देखापरेको छ । ‘लाखांै रुपैयाँ खर्च गरेर चुनाव जित्ने जुन हतकण्डा (मतदातालाई लोभ्याउने, आकर्षित गर्ने) अवलम्बन गरिराखेका छन्, ती एकजना उम्मेदवार पनि गरिब छैनन्, अधिकांश धनाढ्य छन्, जसले आज करोड खर्च गरेर चुनाव जित्न विभिन्न उपाय अपनाउँदै छन्, भोलि उनीहरूबाट नगरवासीले विकासको अपेक्षा गर्नु त मूर्खता हो नि,’ उनले भने, ‘हामी मूर्ख हौं । मासुभात खुवाएर, केही हजार रुपैयाँ दिएर जित्नेले विकास गर्दैनन् । जनताले निर्णय गर्ने बेला आइसकेको छ ।’
झन्डै २० वर्षपछि हुन गइरहेको चुनावका लागि निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहिता कुनै पनि दलले पालना नगरेको उनले बताए । ‘आयोगले समेत आफ्नो आचारसंहिता पालना गराउन सकेको छैन,’ उनले भने । यसपालिको निर्वाचनका लागि महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले अधिकतम साढे ७ लाख, वडाध्यक्ष र सदस्यले ३ लाख रुपैयाँ खर्च गर्न पाउने नियम बनाइएको छ । यो खर्च मतदाता नामावली खरिद, सवारीसाधन तथा इन्धन, प्रचारप्रसार, ढुवानी, गोष्ठी तथा कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनजस्ता शीर्षकमा गर्न पाउने हो । तर वीरगन्जमा त्यो रकम हात्तीका मुखमा जिरासरह साबित भएको छ । चुनाव जित्न भडकिलो प्रचार शैली चाहिन्छ भन्ने मनोभावना विकास हुँदै गएको छ, जसले गर्दा योग्य र सक्षमसँगै लोकप्रिय भए पनि खर्च गर्ने हिम्मत नहुँदा हतोत्साहित बन्नुपर्ने अवस्था आएको छ । सीमावर्ती भारतको विहारको चुनावी राजनीतिक विसंगति यतातिर पनि भित्रिएको उनले बताए ।

समाचार

उम्मेदवारहरू पैसावाला नै

एमालेबाट वीरगन्ज महानगरपालिका मेयरका लागि उम्मेदवारी दिएका मो. बसरुद्दिन अन्सारी वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् । महानगरपालिकालाई कर तिर्ने विषयमा विवाद चलिरहँदा अन्सारीले हालै निर्देशक पदबाट राजीनामा गरेका छन् । अन्सारी एमालेमा नवप्रवेशी हुन् ।
एमालेबाट मेयरको टिकट पाउने आश्वासनमा गत जेठ अन्तिम साता उनी एमाले प्रवेश गरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा एमाओवादीबाट पर्सा क्षेत्र नम्बर दुईबाट चुनाव लडेका अन्सारी राजनीतिक गतिविधिमा संलग्न रहे पनि उनको पृष्ठभूमि राजनीतिक हैन । मधेस आन्दोलनका क्रममा एमालेलाई लक्षित गरी मधेस केन्द्रित दलले छरेको भ्रम चिर्दै अन्सारीले नेताकार्यकर्ता लिएर आक्रामक प्रसार थालेका छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर १ र २ मिलेर घोषणा भएको वीरगन्ज महानगरपालिकामा झन्डै २० हजार मुस्लिम मतदाता छन् । दोस्रो संविधानसभामा क्षेत्र नम्बर २ मा विजयी भएको एमालेको क्षेत्र नम्बर एकमा जमानत जफत भएको थियो । प्रदेश २ को एक मात्र महानगरपालिका जित्नका लागि एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता माधव नेपाल, शंकर पोखरेल लगायत नेता अन्सारीको घरदैलो अभियानमा सहभागी भइसकेका छन् ।

संघीय समाजवादी फोरम नेपालले वीरगन्जका चर्चित व्यापारी विजय सरावगीलाई मेयरको चुनावी रणभूमिमा उतारेको छ । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सरावगी ट्रेडिङ र वित्तीय संस्थाका सञ्चालक हुन् । ५ महिनाअघि पार्टी अध्यक्ष उपेन्द्र यादवको हातबाट टीका र माला लगाएर फोरम प्रवेश गरेका सरावगी उद्योग वाणिज्य संघका केन्द्रीय सदस्यसमेत भइसकेका छन् । मधेस आन्दोलनमा सहभागी नभए पनि जिल्ला अध्यक्ष प्रदीप यादव र कार्यकर्ताको बलियो साथ पाएका सरावगी मधेसको माग र अधिकारका लागि संघर्षरत पार्टीको ‘लिगेसी’ र व्यापारिक छवि देखाएर आफ्नो पक्षमा माहोल बनाउने रणनीतिमा छन् । उम्मेदवारी मनोनयन गर्न पार्टी अध्यक्ष उपेन्द्र यादव सरावगीसँगै वीरगन्ज नगरपरिक्रमा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । पछिल्लो मधेस आन्दोलन र नाकाबन्दीका क्रममा केन्द्रबिन्दु रहेको वीरगन्जमा जसरी पनि जित हासिल गर्ने अभियानमा फोरम लागेको छ ।

सत्तारूढ दल कांग्रेस स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरणमा दोस्रो स्थानमा आएपछि प्रदेश २ मा अत्यधिक सिट जितेर पहिलो हुने रणनीतिमा छ । वीरगन्ज महानगरको मेयरका लागि प्रभावशाली उम्मेदवार मानिएका जिल्ला सभापति तथा पूर्वसभासद अजय द्विवेदीले मनोनयन दर्ता गराएका छन् । ०४९ सालमा उपमेयर भएका द्विवेदी पहिलो संविधानसभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचत भएका थिए । दोस्रो संविधानसभाको निर्वाचनमा त्यही क्षेत्रमा एमालेसँग पराजित भएका द्विवेदी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका हुन् । अन्य राजनीतक दलले द्विवेदीलाई नै प्रमुख प्रतिद्वन्द्वीका रूपमा लिएका छन् । सुक्खा बन्दरगाह–परवानीपुर सडकखण्डको दायाँबायाँ द्विवेदीको पुख्र्यौली जग्गा परेकाले राम्रै पैसावाला मानिन्छन् । यसका अलावा आफू निकटका उद्यागी/व्यापारीको संरक्षणमा कुनै कसर बाँकी नराख्ने भएकाले कुनै पनि चुनावमा उनलाई आर्थिक संकट पर्दैन ।

गत वैशाखमा ६ वटा मधेस केन्द्रित दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) लाई मनोनयन दर्ता गर्ने एक दिन अगाडि वीरगन्जमा ठूलो झटका लागेको छ । स्थानीय निर्वाचनको चर्चा भएदेखि नै मेयरमा विमल श्रीवास्तव र राजेशमान सिंहले दाबी गर्दै आएका थिए । तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका श्रीवास्तव र राष्ट्रिय मधेस समाजवादी पार्टीका सिंह एकताका राजनीतिमा एकअर्काका सहयोगी थिए । पार्टी एकीकरणपछि एकले अर्कालाई सघाउने विश्वास कार्यकर्ताले गरेका थिए । तर टिकट नपाएपछि मंगलबार साँझ फोरम लोकतान्त्रिकमा प्रवेश गरी श्रीवास्तवले बुधबार मेयरका लागि उम्मेदवारी दिएका छन् ।
राजेशमान राजपाबाट मेयर लडिरहेका छन् । शाहीकालको स्थानीय निकायको चुनावसँगै ४ पटक वीरगन्जको मेयर भइसकेका श्रीवास्तव राजनीतिमा आधारभूत तहबाट आएका राजनीतिका पुराना खेलाडी मानिन्छन् । सिंह पछिल्लो मधेस आन्दोलनमा सक्रिय सहभागी थिए । ०५४ को स्थानीय निकायको चुनावमा वीरगन्जको ३ नम्बर वडा सदस्य जितेका सिंह ०५७ मा नगरपारिषदको अध्यक्षमा स्वतन्त्र समूहबाट विजयी भएका थिए । ०५७ देखि संविधानसभाको पहिलो निर्वाचनसम्म श्रीवास्तवको सहयोगीका रूपमा रहेका सिंह दोस्रो संविधानसभामा प्रतिद्वन्द्वी भएर देखा परे । सिंह र श्रीवास्तबीच मत बाँडिँदा कांग्रेसका राजेन्द्र अमात्यले जितेका थिए । दुवै ठेक्कापट्टा र व्यापारमा संलग्न रहँदै आएका छन् ।

अर्को सत्तारूढ दल माओवादी केन्द्रले आर्थिक तथा व्यापारिक नगरीको मेयरमा युवा उम्मेदवार रहबर अन्सारीलाई अगाडि सारेको छ । विदेशमा अध्ययन गरेका ३१ वर्षीय अन्सारी वीरगन्जको गण्डक अस्पतालका निर्देशक हुन् । हंगेरीको बुडापेस्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नातकोत्तर गरेका अन्सारी माओवादीका जिल्ला सदस्य र माओवादीनिकट मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य पनि हुन् । निर्वाचन प्रचारका लागि उनले युट्युबमा अपलोड गरेको भिडियोले बढी चर्चा बटुलेको छ ।

Page 5
समाचार

दलले पाए चुनाव चिह््न

काठमाडौं (कास)– निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका पार्टीहरूलाई बिहीबार चुनाव चिह्न प्रदान गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकले निवेदन दिने दलहरूको चिह्न निक्र्योल गरेको हो । मंसिर १० र २१ गते हुने उक्त चुनावका लागि ९५ दलले दर्ताका लागि आयोगमा निवेदन बुझाएका थिए । हाल संसद्मा रहेका राजनीतिक दलहरूले यसअघि प्रयोग गर्दै आएका चुनाव चिह्न नै पाएका छन् । नयाँ दलले पनि आफूले माग गरेअनुसारकै चुनाव चिह्न पाएका छन् ।

स्थानीय चुनावका बेला आफूले भनेअनुसार चिह्न नपाएका राजपा, नयाँशक्तिलगायतका दलले अब चाहेकै चिह्नमा चुनाव लड्न पाउने भएका छन् । आयोगले मागअनुसार नै राजपालाई छाता र नयाँ शक्तिलाई आँखा चुनाव चिह्न दिएको छ । स्थानीय तहको चुनावमा आफूले भनेअनुसारको चिह्न नपाएपछि राजपाले साइकल चुनाव चिह्न प्रयोग गरेको छ भने नयाँ शक्तिले संघीय समाजवादी फोरमको चुनाव चिह्न प्रयोग गरेको थियो । तेस्रो चरणको स्थानीय तहको चुनावमा फोरमले आफ्नो चिह्न प्रयोग गर्न नदिएपछि नयाँ शक्तिले स्वतन्त्र चिह्न लिएर प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, विवेकशील साझा पार्टीले तराजु चिह्न पाएको छ ।
केही राजनीतिक दलको चुनाव चिह्न भने मिल्दोजुल्दो छ । राप्रपाबाट हालै छुट्एिको राप्रपा प्रजातान्त्रिकले ‘गोलाकारभित्र हलो’ चिह्न पाएको छ । तर राप्रपाबाट यसअघि नै छुट्टिएको प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी पार्टीले पनि मिल्दोजुल्दो चिह्न ‘आयातकारभित्र हलो’ पाएको छ । झट्ट हेर्दा दुवै चिह्न उस्तै लाग्छन् । त्यस्तै राजपाले पाएको छाता चिह्नसँग मिल्दोजुल्दो चिह्न अर्को पार्टीले पनि पाएको छ । जनशक्ति पार्टीलाई गोलाकारभित्र छाता चिह्न प्रदान गरिएको छ ।

Page 6
उपत्यका

पूरा भएनन् मेयरका प्रतिबद्धता

महानगर प्रतिनिधिका १०० दिन
- दामोदर न्यौपाने
काठमाडौं महानगरपालिकाको सय दिने कार्यप्रगति बिहीबार सार्वजनिक गर्दै मेयर विद्यासुन्दर शाक्य । तस्बिर : इलिट जोशी/कान्तिपुर 

काठमाडौं– काठमाडौं महानगरका जनप्रतिनिधिले पदभार ग्रहण गरेको बिहीबार एक सय दिन पुग्यो । सय दिन पुगेको अवसरमा महानगरका मेयर विद्यासुन्दर शाक्यले पदभार गर्ने बेलामा १ सय दिनभित्र पूरा गर्न गरेको प्रतिबद्धताको प्रगति विवरण सुनाए । प्रगति प्रतिवेदनमा अधिकांश काम कार्यान्वयनको चरणमा रहेको उल्लेख छ । सय दिनभित्र पूरा गर्ने भनिएका काम फेरि पनि पूरा गर्ने प्रतिबद्धता उनले जनाए ।
त्यतिबेला गरेको प्रतिबद्धताको बुँदा नं. ४ मा महानगरभित्रका धार्मिक तथा सांस्कृतिक तथा पर्यटकीय केन्द्रहरू जस्तै : पशुपति, स्वयम्भू, बौद्धनाथ, स्वयम्भू वसन्तपुर लगायतका केन्द्रमा दु्रत गतिको ‘फ्री वाइफाइ जोन’ बनाउने घोषणा गरेका थिए । सय दिनमा यो काम पूरा भएन । जनप्रतिनिधिको सय दिनको प्रगति विवरण सुनाउँदै मेयर शाक्यले भने, ‘महानगर कार्यपालिकाको प्रथम बैठकले यस सम्बन्धमा निर्माण गरेको र वातावरण व्यवस्थापन विभागअन्तर्गतका पार्कहरूमा र सम्पदा तथा पर्यटन विभागले सम्पदा क्षेत्रमा यससम्बन्धी कार्य अगाडि बढाइसकेको छ । हनुमानढोका दरबार क्षेत्र कार्यक्रमले फ्री वाइफाइका लागि इन्टरनेट प्रदायक संघसंस्थासँग सम्झौताका लागि छलफल गरिरहेको छ ।’

प्रतिबद्धता नम्बर ५ मा पीडित समुदायसँग वार्ता गरी जनभावनाअनुसार समस्या समाधान गर्ने उल्लेख थियो । यो काम पनि पूरा भएन । मेयर शाक्यले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा ‘पीडितलाई समेटेर छलफल गरी समस्या समाधानका लागि प्रमुखज्यूबाट पहल भइरहेको’ उल्लेख छ । २५ नम्बर बुँदामा ‘सही समय सही ठाउँ, नो ट्राफिक जाम’ को अभियान सुरु गर्ने उल्लेख भए पनि प्रतिबद्धता पूरा भएन । यसको प्रगति प्रतिवेदनमा ‘यस सम्बन्धमा कामपाका कार्यकारी अधिकृतको अध्यक्षतामा सरोकारवाला निकायका पदाधिकारीसहितको कार्यटोली निर्माण गरी सो कार्यटोलीले कार्य प्रारम्भ गरेको, ट्राफिक प्रहरी कार्यालयका पदाधिकारीसँग पटकपटक छलफल गरी यस सम्बन्धमा पत्रचार एवं आवश्यक पहलकदमी गरिएको’ उल्लेख छ ।

बुँदा नम्बर २६ मा सडकमा थुपारिएका निर्माण सामग्री हटाउने उल्लेख थियो । यो काम पनि गरेन महानगरले । यसमा शाक्यले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा ‘२०७४ जेठ १७ मा बसेको महानगरको पहिलो कार्यपालिका बैठकमा एवं सोही दिन प्रमुखको बहालीमा क्लिन द सिटी अभियान सञ्चालन गर्ने निर्णय कार्यान्वयनको चरणमा रहेको, यो नियमित कार्यका रूपमा नगर प्रहरीबाट अनुगमन एवं कारबाही भइरहेको’ उल्लेख गरेका छन् । हाल महानगरमा रहेका सबै मुद्दालाई १ सय दिनभित्र टुंग्याउने प्रतिबद्धता जाहेर गरेका थिए । यसलाई कानुन नबनेकाले हेर्न नसकिएको भन्दै पन्छाएका छन् । ‘संविधानको न्याय समितिको व्यवस्था गरेकाले मुद्दा हेर्ने विषय अन्योल भएकाले मुद्दा फछ्र्योटमा ढिलाइ भएको, हाल प्रमुखको इजलास बस्न सुरु भएको र प्रभावकारी एवं छिटोछरितो ढंगले मुद्दा
फछ्र्योट कार्य भइरहेको’ उल्लेख छ ।

प्रत्येक वडामा विषयगत दक्षतासहितको ‘म्युनिसिपालिटी भोलेन्टियर घोषणा गरी परिचालन गर्ने प्रतिबद्धतामा उल्लेख गरेका थिए । यसको प्रगति प्रतिवेदन सर्वसाधारणले नबुझ्ने गरी दिएका छन् । ‘आव २०७४/७५ को नीति तथा कार्यक्रमको खण्ड (ख) सक्षम युवा, उत्कृष्ट खेलकुद... शीर्षकअन्तर्गत बुँदा नम्बर १० मा उल्लेख गरिएको’ प्रगति विवरणमा उल्लेख छ । प्रत्येक घरमा अनिवार्य वर्षा पानी संकलनको अभियान सुरु गर्ने, संकलनबाट बढी भएको पानी भूमिगत जल भण्डारण गर्ने अभियान थाल्ने प्रतिबद्धता पनि गरेका थिए । २८ नम्बर बुँदामा उल्लेख गरिएको यो प्रतिबद्धता पनि पूरा भएको छैन । ‘आव को बजेट तथा कार्यक्रमको भवन निर्माण इजाजत विभागको कार्यक्रममा बजेट समेत विनियोजन भएको (क्र.सं. १) र खण्ड–ड को बुँदा नं ८ र १३ मा यस विषयमा समेटिएको १५ वडा कार्यालयबाट यो कार्य प्रारम्भ भएको’ उल्लेख छ । यो विवरण पनि सर्वसाधारणले नुबझ्ने भाषामा दिइएको छ ।

प्रतिबद्धताको ३२ नम्बर बुँदामा ‘भोकरहित जनता शोकरहित महानगर’का लागि सुपथ मूल्यको ‘मेयर्स फुड पार्लर’ कार्यक्रम खोल्ने प्रक्रिया घोषणा गरिएको थियो । यसको प्रगति विवरण बुँदा नम्बर १८ र १९ सँग सम्बन्धित रहेको भन्दै पन्छाइएको छ । बुँदा नम्बर १८ मा जन्मदेखि मृत्युसम्म चाहिने सामानसहितको मिनी असन बजार सञ्चालन गर्ने उल्लेख गरिएको थियो । मिनी असन बजार खोल्ने योजना पनि पूरा भएन । यसको प्रगति विवारणमा ‘अवधारणा पत्र तयार पार्ने कार्य भइरहेको’ उल्लेख छ । १९ नम्बर बुँदामा भित्री सहरको हरेक ५ सय मिटरमा र बाहिरी सहरमा आवश्यकताअनुसार पीपीपी मोडलमा पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अघि बढाउने जसमा महिला, अपांगता भएका, वृद्धवृद्धा, बालबालिकामैत्री डिजिटल सूचना पाटी, शौचालय, डिजिटल सुझाव संकलन डेस्क, वेटिङ मेसिन, रिचार्ज कार्ड, फ्री वाइफाइ, स्नास्क बार, सेनेटरी प्याडको व्यस्था गरिनेछ’ उल्लेख थियो । यसको प्रगति प्रतिवेदन पनि गोलमटोल तरिकाले दिइएको छ । ‘ठूला पूर्वाधार सार्वजनिक क्षेत्रमा फ्री वाइफाइ, मोनो–रेल, डिजिटल कार पार्किङ आदि परियोजना सार्वजनिक निजी साझेदारी प्रारूपमा अगाडि बढाउने सम्बन्धमा अध्ययन भइरहेको छ । सार्वजनिक निजी साझेदारी प्रारूपमा नै स्मार्ट, सार्वज्निक शौचालय, इ–टवाइलेट निर्माण सम्बन्धमा सम्भाव्यता अध्ययन भइरहेको’ उल्लेख छ ।
बुँदा नम्बर ३८ मा ‘काठमाडौं महानगर झिलिक्क, घर घर टिलिक्क’ अभियानको थालनी गर्ने । सरकारी सार्वजनिक भवनमा रंगरोगन गर्ने र आम नागरिकलाई आह्वान गर्ने उल्लेख थियो । यसको प्रगति विवरण पनि गोलमटोल तरिकाले दिइएको छ ।

उपत्यका

बोर्ड बैठक बहिष्कार

काठमाडौं (कास)– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गर्दै उपमेयर हरिप्रभा खड्गीसहित १४ वटा वडाका वडा अध्यक्षले बोर्ड बैठक बहिष्कार गरेका छन् । महानगर पदाधिकारीले कार्यभार सम्हालेको १ सय १ दिन पुगेको अवसरमा कार्यप्रगति जानकारी दिन बिहीबार गर्न लागिएको पत्रकार सम्मेलनबारे छलफल गर्न बोर्ड बैठक राखिएको थियो । बैठकमा छलफल हुने एजेन्डाबारे जानकारी नै नदिई बैठक बोलाएको भन्दै वडा अध्यक्षहरूले आपत्ति जनाएका थिए ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले सय दिनभित्रमा १ सय १ काम गर्ने भनेर सूची सार्वजनिक भए पनि काम नभएकाले महानगरवासीमा तीव्र असन्तुष्टि छ । महानगर स्रोतका अनुसार कर्मचारी सरुवाको विषयमा प्रमुख र उपप्रमुखबीच विवाद हुँदा लामो समयदेखि कार्यपालिका बैठकसमेत बस्न सकेको छैन । कार्यकारी प्रमुखले कर्मचारी सरुवा गर्न सक्ने भए पनि मेयर शाक्यले हस्तक्षेप गर्दै कर्मचारी सरुवा गरेपछि विवाद चुलिएको हो । महानगर प्रमुख शाक्यले काठमाडौंका खाल्डाखुल्डी पुर्ने, पोलमा अवस्थित तार हटाउने लगायत कामको सूची सार्वजनिक गरेका थिए । ती काम पूरा गर्न नसकेको भन्दै वडा अध्यक्षले प्रश्न उठाएका थिए । उनीहरूले हनिमुन पिरियड भएकाले चुप लागेको बताउँदै अब नहसने भन्दै बैठक बहिष्कार गरेका थिए ।

त्यसैगरी अपांग, बालबालिका मैत्री शौचालय सुविधासहितको बस सञ्चालन गर्ने उनको घोषणा पनि कागजमै सीमित भएको छ । त्यसैगरी जञ्जालमुक्त सडक सञ्जाल कार्ययोजना प्रारम्भ गर्ने, निर्माणाधीन चक्रपथ विस्तार कार्यलाई यथाशीघ्र सम्पन्न गर्न प्रभावकारी पहल गर्ने, भक्तपुर हनुमन्तेदेखि कटवाल दहसम्म वाग्मती किनार हुँदै केबल बसको सम्भाव्यता अध्ययन गर्ने, सम्पूर्ण ट्राफिक लाइटलाई मर्मत गरी सुचारु गर्ने जस्ता काम तीन महिनाभित्रमा सुरु गर्ने शाक्यको घोषणा कार्यान्वयन हुन सकेको छैन ।

उपत्यका

‘बालुवाखानीले बास उठ्ने भो’

- कान्तिपुर संवाददाता
चाँगुनारायण नगरपालिका–३ झौखेल, मगरगाउँस्थित अवैध रूपमा उत्खनन गरिएको बालुवा खानी र जोखिममा परेको घर । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर

भक्तपुर– चाँगुनारायण नगरपालिका–३ झौखेल मगरगाउँकी ६३ वर्षीया ठूलीमाया थापामगरको दुईतले घर भूकम्पका कारण क्षतिग्रस्त भयो । उनका तीन दिदीबहिनी करिब २८ महिनायता भूकम्पको धक्काले धराप पारेको घरलाई टालटुल गरी बसोबास गरेका छन् । टालटुल गरेको घर पनि अवैध बालुवा खानीका कारण पहिरोको जोखिममा परेको छ । ‘भत्किएको घरभित्र भान्सा बनाउने अवस्था छैन, प्लास्टिकले टालटुल गरेर बाहिर खाना पकाउँछौं,’ उनले भनिन्, ‘धराप घर पनि अवैध बालुवा उत्खननको सिकारमा परेको छ । उठीबासै लाग्ने भयो ।’ घर बनाउन बालुवा चाहियो भन्ने बहानामा सुकुदेव थापामगरले पाँच महिनादेखि अवैध रूपमा बालुवा उत्खनन गरी व्यापार थालेकाले भूकम्पपीडित पहिरोको जोखिममा परेको माइली थापामगरले बताइन् ।

जिल्लाका अधिकांश बालुवाखानी करिब साढे दुई वर्षयता बन्द छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवा खानीसम्बन्धी फाइल कब्जामा लिएको बहानामा जिल्ला समन्वय समिति हात बाँधेर बसेको छ । खानी तथा भूगर्भ विभागले खानी सञ्चालनको स्वीकृति नदिए पनि अवैध रूपमा निकासी हुने क्रम रोकिएको छैन । चाँगुनारायण नगरपालिका झौखेल, दुवाकोट, भक्तपुर र काठमाडौंको सिमानामा पर्ने मनोहरा खोला, भूते खहरे, बेंसी, मनोहरा कुइँकेल गाउँ, भिखाटार, दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज आसपास, मूलआलीदेखि नीलबाराही क्षेत्रबाट अवैध रूपमा बालुवा निकाली निकासा भइरहेकै छ ।
खानी बन्द भएको मौका छोपी व्यवसायीले नै अवैध व्यापार थालेको स्थानीय बासिन्दा बताउँछन् । बालुवा खानी सञ्चालन नहुँदा जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको राजस्व तीन आर्थिक वर्षदेखि गुमेको छ । यता बालुवा तस्करीलाई भने खानी बन्दले कुनै प्रभाव पारेको छैन । बालुवा तस्करीले भक्तपुरमा बालुवा निकाली मनोहरा खोला हुँदै काठमाडांै निकास गर्ने गरेको स्थानीय बताउँछन् । राजनीतिक दल, जिसस, जिल्ला प्रशासन, प्रहरी लगायतकै संरक्षणमा बालुवाको तस्करी भइरहेको स्थानीय बताउँछन् ।

खानी बन्द भएको मौका छोपी खहरे खोलाको बालुवा निकालेको निहुँमा बालुवा तस्करीले भटाभट खानीबाट बालुवा झिकी डिपो पुर्‍याउने गरेको उनीहरूको गुनासो छ । ‘बालुवा खानी बन्द भनेको छ,’ स्थानीय शर्मिला केसीले भनिन्, ‘अवैध बालुवा व्यापारले डिपो चलेकै छ ।’ व्यापारिक प्रयोजनका लागि खोलाले बगाएर ल्याएको बालुवा समेत निकाल्न नपाइने जिससले जनाएको छ । यता जिसस भक्तपुरले भने बालुवा उत्खनन तथा निकासीका लागि स्वीकृति नदिइएको भन्दै टुलुटुलु हेरिरहेको अवस्था छ ।

स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व लिइसकेकाले जिल्ला समन्वय समिति र नगरपालिकाका प्रतिनिधिले खानीको व्यवस्थापन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । ‘चोरी निकासी नियन्त्रणको जिम्मा प्रहरी, प्रशासनको मात्र होइन,’ उनले भने, ‘जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व लिन थालेको तीन महिना कटिसक्यो, खानी व्यवस्थापनका लागि केही योजना बनिसक्नुपर्ने हो ।’ यता चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले भने बालुवाको चोरी निकासी नियन्त्रण गरी जिल्ला समन्वय समिति वा नगरपालिकाले वैधानिक तरिकाले खानी सञ्चालन गर्ने बताए । हालको चोरी निकासी रोक्ने जिम्मा प्रहरी, प्रशासनकै भएको समेत उनी बताउँछन् ।

उपत्यका

ओखरपौवामा फोहोर फाल्न अवरोध

- प्रशान्त माली

  • मुआब्जाको रकम र दूरी घटाएकोमा विरोध
  • दीर्घकालीन व्यवस्था गर्नेबारे गृहमन्त्रालयसँग छलफल
  • उपत्यकामा दैनिक ८ सय टन फोहोर उत्पादन


ललितपुर– नुवाकोटस्थित ओखरपौवाका स्थानीयवासीले अनिश्चितकालका लागि फोहोर फाल्न नदिने घोषणा गरेका छन् । स्थानीयवासीले एक साताअघि ललितपुर र काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएको, वार्षिक रूपमा सरकारले दिँदै आइरहेको मुआब्जाको रकम र दूरी घटाएकामा विरोध जनाएका हुन् । 

यसै विषयमा ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र ओखरपौवाका स्थानीयवासीबीच भएको बैठक बुधबार पनि निष्कर्षमा पुग्न सकेन । काठमाडौंका मेयर, उपमेयर र ललितपुर उपमहानगपालिकाका उपमेयरसहितको टोली सुरक्षा व्यवस्था मिलाउनका लागि
अनुरोध गर्न बुधबार गृह
मन्त्रालयमा पुगेका थिए ।
ओखरपौवावासीले आफूहरूको माग सम्बोधन नभएसम्म फोहोर फाल्न नदिने बताएका छन् ।
स्थानीय बलराम क्षत्रीले महानगरपालिकाले मुआब्जा मात्रै नभई वैज्ञानिक रूपमा फोहोर विसर्जन, लिचडको उचित प्रशोधन, सडकको स्तरोन्नतिसमेत गर्ने प्रतिबद्धता जनाएको तर पूरा नगरेको बताए । ‘पटक–पटक आश्वासन मात्र दिइयो, कार्यान्वयनमा ध्यान दिइएन,’ उनले भने । स्थानीयवासीका अनुसार सरकारले फोहोर विसर्जन गरिएको ल्यान्डफिल साइटबाट ४ सय मिटरसम्मका बासिन्दालाई वार्षिक प्रतिवर्गमिटर फोहोर प्रभावित क्षेत्र भनेर ५० रुपैयाँ मुआब्जा दिँदै आइरहेको थियो । ‘अहिले सीमा र दूरीलाई छोट्याएर ५० रुपैयाँबाट
३५ घटाएर १५ रुपैयाँ मात्र दिन खोजेको छ,’ क्षत्रीले भने, ‘यो हामीलाई मान्य छैन ।’
काठमाडौं महानगरपालिकाका वातावरण शाखा प्रमुख रवीन्द्रमान जोशीले सरकारले दिँदै आइरहेको मुआब्जाको रकम र दूरी नघटाएको बताए । उनका अनुसार सरकारले स्थानीयवासीलाई ल्यान्डफिल साइटदेखि ४ सय मिटरसम्म वार्षिक प्रतिवर्गमिटर ५० रुपैयाँ, ४ सयभन्दा बढी दूरीका लागि ३० र ९ सय मिटरका लागि १५ रुपैयाँ दिने निर्णय थियो । जोशीले स्थानीयवासीले ९ सय मिटरसम्म पनि ५० रुपैयाँ नै माग गरेको बताए । उनले भने, ‘यसमा लामो प्रक्रिया छ । वातावरण शाखाले मात्र माग पूरा गर्न सम्भव छैन ।’ ललितपुर महानगरपालिका प्रवक्ता राजु महर्जनले समस्याको दीर्घकालीन व्यवस्थापन गर्नेबारे गृह मन्त्रालयमा छलफल भएको बताए । ‘नुवाकोटका सीडीओमार्फत सुरक्षा व्यवस्थापन मिलाउने भएको छ,’ उनले, ‘केही समयका लागि फोहोरमैलाको व्यवस्थापन गर्न सम्भव नभएकाले नगरवासीलाई अस्थायी रूपमा आफ्नो प्रयासबाट स्थानीय घर, अफिस कम्पाउन्डभित्रै अल्पकालीन व्यवस्थापन गरी सहयोग गरिदिन पनि अनुरोध छ ।’
चार दिन फोहोर नउठदा अहिले काठमाडौंको बागबजार, भृकुटीमण्डप प्रदर्शनी मार्ग र ललितपुरको पुल्चोक, मंगलबजार, गाबहाललगायत विभिन्न स्थानमा जम्मा भएको फोहोरले दुर्गन्ध फैलिन थालेको छ । बढी फोहोर उत्पादन हुने होटललगायत क्षेत्र यसबाट बढी मारमा परेका छन् । उपत्यकामा दैनिक ८ सय टन फोहोर उत्पादन हुन्छ ।

उपत्यका

पुरस्कार कार्यक्रम स्थगित

छोटकरी

काठमाडौं (कास)– शिक्षा मन्त्रालयले शिक्षा दिवसको अवसरमा शुक्रबार विद्यालयलाई प्रदान गर्न लागेको पुरस्कार वितरण स्थगित गरेको छ । उच्च अदालत पाटनको बुधबार विद्यालयलाई पुरस्कृत गर्ने कार्य नगरी यथास्थितिमा राख्नू भन्ने आदेशअनुसार मन्त्रालयले विद्यालय पुरस्कृत गर्ने कार्यक्रम स्थगित गरेको हो । ‘अदालतको अन्तिम फैसलापश्चात् स्थगन गरिएको कार्यक्रम अर्को सूचना प्रकाशित गरी सञ्चालन गरिने सबैका लागि अनुरोध छ,’ मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले शिक्षा दिवसमा राष्ट्रिय, प्रादेशिक र उत्कृष्ट माध्यमिक विद्यालयलाई नगदसहित पुरस्कृत गर्ने कार्यक्रम थियो । ललितपुरको प्रसादी एकाडेमीले छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै रिट दायर गरेको थियो । रिटको सुनुवाइ गर्दै अदालतले विद्यालय पुरस्कृत गर्ने कार्य नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो । मन्त्रालयले निजी विद्यालयतर्फ कक्षा १२ को नतिजाका आधारमा बागबजारको काठमाडौं मोडेल माध्यमिक विद्यालयलाई उत्कृष्ट छनोट गरेको थियो । छनोटको आधार गलत हुँदा आफ्नो विद्यालय पुरस्कृत हुनबाट वञ्चित भएको भन्दै प्रसादी असन्तुष्ट हँुदै अदालत गएको हो ।

 

उपत्यका

विदेशी समातिए

छोटकरी

काठमाडौं (कास)– एटीएमबाट अर्काको खातामा रहेको पैसा निकाल्ने गिरोहमध्येका एक जना विदेशीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । टर्किस नागरिक इकरेम ओरमाकीलाई रोयल पेंग्विन होटल क्षेत्रपाटीबाट पक्राउ गरिएको हो । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ३० वर्षीय इकरेमलाई पक्राउ गरेको थियो । पर्यटक भिसामा नेपाल आएका उनका साथमा १ हजार २ सय २५ युरो, ९ हजार ७ सय १० अमेरिकी डलर, ३३ हजार इन्डोनेसियन पैसा बरामद भएको छ । ४ थान मोबाइल, एउटा ल्यापटप र एक थान कार्ड स्किमरसहित उनलाई पक्राउ गरिएको हो ।

 

उपत्यका

घूससहित कर्मचारी पक्राउ

छोटकरी

भक्तपुर (कास)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख घूससहित नेपाल नापतौल तथा गुणस्तर विभागका तीन कर्मचारीलाई पक्राउ गरेको छ  आयोगको टोलीले बिहीबार भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल क्याफेबाट नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो इकाई प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खडकालाई पक्राउ गरेको आयोगका सहसचिव एवं प्रवक्ता जीवराज कोइरालाले बताए । पक्राउ पर्ने व्यक्तिहरूले ४ सय ९० वटा
ट्याक्सीलाई गुणस्तरयुक्त छ भन्दै प्रतिट्याक्सी १ हजार ५ सयका दरले ६ लाख ७५ हजार मागेको कोइरालाले बताए। उनीहरूले बार्गेनिङ गरेर ५ लाख लिँदै गर्दा टोलीले नियन्त्रणमा लिएको थियो ।

Page 7
समाचार

जाग्राम बसेरमनोनयन

- कान्तिपुर टिम

महोत्तरीको मनरा सिसवा नगरपालिकामा बिहीबार अपराह्न मात्रै उम्मेदवारी दर्ता सकिएको छ । मनराको दुर्गा माविस्थित मनोनयन दर्तास्थल प्रवेश गरेका उम्मेदवार पालो पर्खन राति बिस्कुट र चिया पिएर त्यहीं सुतेका थिए । निर्वाचन अधिकृत यमबहादुर बानियाका अनुसार उम्मेदवार ढिलो आउँदा र मनोनयन दर्ताका लागि आवश्यक कागजात र रेकर्ड मिलाएर नल्याउँदा बढी समय लागेको हो । जिल्लाका सबै तहमा मनोनयन दर्तामा ढिलाइ भएको छ ।

जिल्लाका १५ वटै तहमा शान्तिपूर्ण र उल्लासमय ढंगले मनोनयन दर्ता भएको जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका सबै तहमा गरी ४ हजार ५५ जनाले मनोनयन दर्ता गराएका छन् । यो उम्मेदवारी कुल पद संख्याको दुई तिहाईले बढी हो । जिल्लाका १० नगर र ५ गाउँपालिकाका लागि ७ सय २० जनप्रतिनिधि चुनिँदै छन् । समर्थकका साथमा पुगेका उम्मेदवारको थेगिनसकनु भीड थियो । निर्वाचन अधिकृतकै कार्यालयमा उम्मेदवार जाग्राम बसेका थिए । मनरा सिसवा नगरपालिका बाहेक अन्य सबै तहमा महिला उम्मेदवारको संख्या १ हजार १ सय ६ छ ।

साँझसम्मै दर्ता

सप्तरीका ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ स्थानीय तहमा ५ हजार ६ सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ८ सय ५६ जनप्रतिनिधि छानिनेछन् । उम्मेदवारी दर्ता बुधबार ५ बजेसम्म मात्र थियो । लाइन लामो भएकाले कर्मचारीहरूले १० बजे रातिसम्मै फारम बुझेर बिहीबार साँझसम्म दर्ता प्रक्रिया सकेका हुन् ।
जिल्लाका ९ नगरपालिकाका मेयरका लागि १ सय ३ जनाले उम्मेदवारी दिएका छन् । ९ उपमेयरका लागि ९२ ले मनोनयनपत्र दर्ता गराएका छन् । ९ गाउँपालिका अध्यक्षका लागि १ सय १४ जनाले उम्मेदवारी दिएका छन् भने ९ उपाध्यक्षका लागि ७४ जना चुनावी मैदानमा ओर्लिएका छन् ।
जिल्लाको कुल १ सय ६४ वडा अध्यक्षका लागि १ हजार २ सय १७ जना, ३ सय २८ सदस्यका लागि २ हजार ३० जना, १ सय ६४ दलित महिला सदस्यका लागि ९ सय ८२ र १ सय ६४ महिला सदस्यका लागि १ हजार ७४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

झिसमिसेमा सकियो मनोनयन

धनुषामा बागी उम्मेदवारको संख्या उल्लेख्य छ । जिल्लाका १८ तहका ८ सय ८१ पदका लागि २ हजार ५ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । जनकपुर उपमहानगरपालिकाको १ सय २७ पदका लागि ७ सय ८० जनाको उम्मेदवारी परेको छ । यहाँ पनि बुधबार साँझ ५ बजेसम्म मनोनयन समय निर्धारण गरिए पनि उम्मेदवारहरूको अत्यधिक चापका कारण बिहीबार बिहान ६ बजेसम्म दर्ता गरिएको थियो । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले उम्मेदवारको अत्यधिक चापका कारण ढिलाइ भएको बताए ।

जनकपुर उपमहानगरको मेयरका लागि कांग्रेसबाट मनोजकुमार साह, एमालेका लक्ष्मीनारायण भगत (साह), राजपाका लालकिशोर साह र संघीय समाजवादी फोरमका विष्णुदेव साहले उम्मेदवारी दर्ता गराएका छन् । नयाँ शक्ति नेपालका उमेश साह, माओवादी केन्द्रले चन्द्रशेखर साह तथा फोरम लोकतान्त्रिकले हंसराज साहलाई चुनावी मैदानमा ओरालेका छन् । मेयरमा दल र स्वतन्त्रसहित २० जनाले तथा उपमेयरमा १५ जनाले उम्मेदवारी दर्ता गराए । २५ वडाको अध्यक्ष पदका लागि २ सय २१ जनाले उम्मेदवारी दिएका छन् ।


१ सय २३ महिला तथा १ सय ५ दलितले उम्मेदवारी दिएका छन् । उपमहानगरसहित धनुषाका ११ नगरपालिका तथा ६ गाउँपालिकामा अधिकांश ठूला दलले उम्मेदवारी दर्ता गराएका छन् । मिथिला नगरमा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । कांग्रेसका राजकुमार महतो मेयर तथा माओवादीका मनिष जर्घामगरलाई उपमेयर उठेका छन् ।

समाचार

बागी उम्मेदवारको लर्को

धनुषा (कास)– धनुषामा पार्टीले आधिकारिक उम्मेदवार नबनाएपछि कांग्रेस, एमाले, राजपा र माओवादी केन्द्रका दर्जनभन्दा बढी नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। जनकनन्दनी गाउँपालिका अध्यक्षमा कांग्रेस संगठित सदस्य सुनील मण्डलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका रामदिनेश पजियारले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

कमला नगरपालिकामा माओवादी केन्द्रका कुलदीप मोरवैता यादव तथा मिथिलाविहारी नगरपालिकामा माओवादी केन्द्रकै रामबाबु साहले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराए । मुखियापट्टी मुसरनिया गाउँपालिकामा कांग्रेसका विश्वनाथ यादवले उम्मेदवारी दिएका छन् । हंसपुर नगरपालिकामा एमालेका सूर्या कापरले र कांग्रेसका भरोसी मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जनकपुर उपमहानगरका २५ मध्ये ५ वडामा एमाले पार्टी सम्बद्ध नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । नगराइन, सहिदनगर र मिथिलाविहारी नगरपालिकामा पनि एमाले सम्बद्ध स्थानीय नेताले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । गणेशमान चारनाथ नगरपालिकामा एमाले नेता पुरुषोत्तम लामाको नेतृत्वमा उपमेयरसहित सम्पूर्ण वडामा जनमुक्ति पार्टीको टिकटमा उम्मेदवारी दर्ता गराइएको छ ।
एमाले केन्द्रीय सदस्य श्रीप्रसाद साहले अर्का केन्द्रीय सदस्य रघुवीर महासेठ तथा जिल्ला अध्यक्ष राजकिशोर यादवले पार्टीको संस्थागत निर्णयविपरीत उम्मेदवार छनोट गरेको आरोप लगाए । यस्तै उम्मेदवार चयनमा माओवादी केन्द्रका नेता मातृका यादवले एकलौटी गरेको आरोप लगाउँदै त्यस पार्टीका नेता तथा कार्यकता आक्रोशित छन् ।

समाचार

‘चुनाव शान्तिपूर्ण हुन्छ’

काभ्रे (कास)– गृहमन्त्री जनार्दन शर्माले प्रदेश २ को स्थानीय निर्वाचनमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन् । मन्त्रालयले धुलिखेलमा आयोजना गरेको ‘संघीयतामा आन्तरिक सुरक्षा : चुनौती र आगामी रणनीति’ विषयक अन्तरक्रियापछि सञ्चारकर्मीसँग उनले निर्वाचन शान्तिपूर्ण हुने दाबी गरे । ‘दलहरूबीचको अस्वस्थ प्रतिस्पर्धा, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र निर्वाचनमा भाग लिन नचाहने शक्तिका गतिविधिलाई चुनौतीका रूपमा लिएका छौं,’ उनले भने, ‘चुनौती सामना गर्न सबै तयारी पूरा भएको छ, कुनै ठूलो चुनौती छैन ।’ खुला सिमानाका कारण पारिबाट हुन सक्ने घूसपैठबारे मन्त्रालय सचेत रहेको भन्दै उनले भारतीय पक्षसँगको छलफलमा यस्ता गतिविधि रोक्न सहयोग आदानप्रदान गर्ने सहमति भएको बताए । दुई दिने गोष्ठीमा मन्त्रालयले संघीयतामा अपनाइने आन्तरिक सुरक्षा नीति र सांगठनिक संरचनाबारे छलफल थालेको छ ।

 

Page 8
सम्पादकीय

असहिष्णु मनोवृत्तिको अर्को दृष्टान्त

मूलधारको राजनीति, विचार वा कार्यपद्धतिमा फरक मत राखेर अघि बढिरहेकी पत्रकार गौरी लंकेशको हत्यासँगै भारतमा असहिष्णु मनोवृत्तिले जरा गाड्दै गएको देखिएको छ। राज्यसत्ताको आलोचक हुनासाथै र उग्रराष्ट्रवादको संकीर्ण घेराबाट माथि उठेर फरक दृष्टिकोण राख्नेबित्तिकै यसको नतिजा कति घातक र आततायी हुनसक्ने रहेछ भनेर उदाहरण दिने क्रममा भारतीय प्रेस जगतलाई पनि औंल्याउन थालिएको छ । स्वतन्त्र प्रेस स्वीकार्य रहेको समाजको सूचकांकमा बर्सेनि ओरालो लाग्दै गरेको भारतमा बितेको चार वर्षमा मात्रै झन्डै डेढ दर्जन पत्रकार/लेखकको हत्या भइसकेको छ । यो क्रममा यो साता कन्नडभाषी ‘गौरी लंकेश पत्रिके’ की सम्पादक गौरी लंकेशको रहस्यमय हत्याले भारतमा विस्तारित असहिष्णु प्रवृत्तिको अर्को दृष्टान्त सार्वजनिक गरेको छ ।

विशेषत: लंकेशको हत्यालाई लिएर मूलधारका लेखक, पत्रकार र मिडियाजगतले समेत भारतीय हिन्दुत्ववाद र यसमा जोडिएको अतिवादका कारण चौतर्फी रूपमा असहिष्णु प्रवृत्तिको वर्चस्व बढ्दै गएको आकलन गर्न थालेका छन् । धार्मिक अतिवादकै कारण अर्को दक्षिण एसियाली मुलुक बंगलादेशमा लगातारजसो ब्लगर/पत्रकारको हत्या भइरहेको समाचारको निरन्तरतामा भारतीय समाज पनि जोडिएको छ, जहाँ धार्मिक अतिवाद र उन्मादका कारण स्वतन्त्रतापूर्वक बोल्न र लेख्ने अधिकारमा संकुचन लाग्न थालेको छ । बितेको चार वर्षमा मात्रै भारतमा नरेन्द्र ढबोल्कर, गोविन्द पन्सारे, एमएम कल्बुर्गीजस्ता प्रखर विचारकलाई मूलधारविरुद्ध उभिएकै कारण हत्या गरिएको घटना नसेलाउँदै लंकेश पनि त्यही सूचीमा परेकी छन् । र, स्वतन्त्र प्रेसको वर्चस्वका निम्ति यो असुरक्षा र भयको वातावरण भारतमा दिन दुगुना रात चौगुना बढ्दै गएको स्थिति सिंगो दक्षिण एसियाली समाजका लागि चिन्ताको विषय बनेको छ । यी हत्या शृंखलामा भारतीय सत्ताधारी दल र हिन्दुवादी कट्टर समूहको हात रहेको भनेर आकलन गरिए पनि यी हत्या प्रकरणमा गहिरो अनुसन्धान कहीँकतै हुन सकेको छैन । अन्यायविरुद्ध बोल्ने र सीमान्तकृत वर्गका पक्षमा आवाज उठाउने यी अभियन्ताहरूको हत्याबारे गहिराइमा अनुसन्धान हुन नसकेको दण्डहीनताको यो स्थितिले मूलधारको विरोधमा जान खोज्ने जो–कोहीलाई सफाया गर्ने आपराधिक मनोवृत्तिलाई पनि बढावा दिएको देखिन्छ । कुनै पनि धर्म, जाति वा वर्गका मामिलामा जोडिने अतिवादको परिणति सधैं घातक रहने दृष्टान्तहरू भारत वा बंगलादेशमा लगातारजसो देखापर्दै आएका छन् । अझ विशेषत: धार्मिक, जातीय र राष्ट्रवादी अतिवादले पुर्‍याएको नोक्सानीको लेखाजोखा हुनै नसक्ने स्थिति पनि देखा परिसकेको छ । सकेसम्म कुनै पनि मामिलामा अतिवादलाई प्रश्रय नदिने र फरक मतमा उभिने स्वरलाई पनि सुन्न सक्ने सहिष्णु समाजका पक्षमा सबैले आवाज उठाउनु जरुरी देखिएको छ ।

लोकतन्त्र र खुला समाजको पर्यायका रूपमा व्याख्या गरिने भारतीय समाजभित्र अझै पनि फरक मतको सुनुवाइ हुन नसकिरहेको एकपछि अर्को दृष्टान्त आइरहेका छन् । पत्रकार गौरी लंकेशको हत्या प्रकरणमा अहिले पूर्वानुमान गरिएजस्तो हिन्दुवादी अतिवादको हात छ/छैन, यसको प्रस्टीकरण चाँडै बाहिर आउला नै । तर, सतहमा हेर्दा राज्यको एउटा तहमा बसेर आफ्नै मातृभाषामार्फत केन्द्र सरकार र राज्यसत्ताको नीति–नियम तथा शासन सञ्चालन पद्धतिको खुलेर आलोचना गर्दै आएकी लंकेश स्वयंले आफ्नो पेसा तथा जीवन सुरक्षित नरहेको बोध धेरैअघि गरिसकेकी थिइन् । यसरी एउटा असहिष्णु समाजको परिणति बनेर पत्रकार गौरी लंकेशको हत्या खबर बाहिर आएपछि मात्रै धेरैले यो प्रवृत्तिको विरोधमा आवाज उठाउन थालेका छन् । यो अतिवादी शैली अन्त्य गर्न लंकेशको हत्यामा मात्रै होइन, अरू बेला पनि सचेतनापूर्वक अतिवादको विरोध जारी रहनुपर्छ । अन्यथा असहिष्णु समाजको स्वरूप बढ्दै गए यसको परिणाम झनै विकृत र घातक हुनसक्ने देखिन्छ ।

सम्पादकीय

निर्वाचन त हुन्छ, त्यसपछि के हुन्छ ?

- श्रीकृष्ण अनिरुद्ध गौतम

९० प्रतिशतले जारी गरेको भनिएको संविधानलाई यसैभित्र रहेका अस्थिरता निम्त्याउने र यसका आडमा शासनलाई नै कुरुप बनाउने प्रवृत्तिले निलिदिन सक्छ ।
२ असोज २०७४ मा प्रदेश २ अर्थात् मध्यपूर्वी तराईका ८ जिल्लामा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । त्यस्तै यही मंसिरमा अरू दुई तह अर्थात् सातै प्रदेश र केन्द्रीय प्रतिनिधिसभाका लागि निर्वाचन हुन गइरहेका छन् । यी निर्वाचन सम्पन्न भइसकेपछि २०७२ असोज ३ मा जारी भएको संविधानले निर्धारण गरेको संक्रमणकाल सकिनेछ । संविधानले व्यवस्था गरेका प्रावधानहरू सक्रिय हुनेछन् । तीनै तह, त्यसमा पनि विशेषगरी प्रदेशहरू र केन्द्रका राजनीतिक संस्थाहरूको गठन र ती संस्थाहरू सक्रिय भएपछि बल्ल नेपाल गणराज्य संघीय शासन प्रणालीमा विधिवत प्रवेश गर्नेछ।
राजनीतिक भाषामा यसलाई यसरी बुझौं । यसले संविधान उल्टिने सम्भावनालाई निस्तेज बनाउनेछ । किनभने यी निर्वाचनहरू एक प्रकारले क्षेत्रीय र राष्ट्रिय जनमत संग्रह हुन जानेछन् । संविधान जारी भएपश्चात् पहिलोपटक हुने चुनावले संविधानलाई अनुमोदन गरेको मानिन्छ र मान्नुपर्छ । संविधानसभाले लेखेको भए पनि विदितै छ, यसमा देशको जनमत विभाजित थियो । निश्चय नै यो संविधान आलोच्य थियो र अझै छ । तर संविधान अस्वीकार गर्ने नाममा मध्यपूर्वी तराईमा आन्दोलन र त्यसैको निहुँमा भारतले गरेको नाकाबन्दीका कारण यसका आलोच्य पक्ष ओझेलमा परे । संविधान जनतामा पुग्दै पुगेन । यसमाथि प्राज्ञिक विमर्श हुँदै भएन, हुनै पाएन । फलस्वरूप, संविधानमा सच्याउनैपर्ने प्रावधानहरूतर्फ सशक्त रूपमा औंल्याउनै पाइएन, औंल्याइएन ।

राज्यको शासकीय स्वरूप अर्थात् संसदीय प्रथा त्यसमाथि समानुपातिक हुलेर विकृत बनाइएको प्रणाली संविधान नआउँदै सच्याउनुपर्ने थियो । तर आइसके पनि अझै पर्छ । केन्द्र त केन्द्र, प्रदेशहरूलाई पनि यही प्रथा बोकाइएको छ । राज्यको शासकीय स्वरूप र यसको चरित्र निर्धारण गर्दा पात्रहरूका स्वार्थ हावी भएका थिए । प्रदेशसभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचनका बेला यो विषय प्रमुख मुद्दा बन्न सक्यो भने नयाँ निर्वाचनहरूपछि संविधान संशोधनद्वारा यो प्रावधान सच्याउन सकिन्छ भन्ने अभिप्रायले म यहाँ यो विषय उठाइरहेको छु ।

यस आलेखमा म शासकीय स्वरूप सच्याउनु किन जरुरी छ, यस विषयमा चर्चा गर्नेछु । अरू पनि विषय छन्, ती माथि आउँदा आलेखहरूमा सविस्तार विमर्श गर्नेछु । यथार्थ सम्मत कुरा गर्नुपर्दा भन्नैपर्छ, संविधान निर्माणका बेला राज्यको शासकीय स्वरूप निर्धारण गर्ने विषयलाई संघीयताको प्रकार निर्धारणको संकटले ओझेलमा पारेको थियो । संघीयता नचाहनेहरू एकातिर घुस्घुस् गरिरहेका थिए भने अर्कातिर जातजातिका नाममा प्रदेश बनाउनुपर्छ भन्ने एकल जातीयतावादीले प्रक्रियालाई नै अवरुद्ध पारेका थिए । भनिरहनु नपर्ला, एकल जातीय पहिचानवादीहरू छोइसक्ना थिएनन्, तिनलाई विभिन्न एजेन्सीहरूले बोकेका थिए ।
राज्यसत्तामाथि एकलौटी रजाइँ गरिरहेका केन्द्रीयतावादी एकातिर अर्कातिर परस्पर मिसमास र खप्टिएर रहेको नेपाली समाजलाई टुक्र्याउन खोज्नेहरू थिए । मिलनबिन्दु भेटिइरहेको थिएन । निश्चय नै त्यहीं दुईथरी अतिवादीका अतिरिक्त, साझा पहिचानमा आधारित संघीयता पक्षधर तर्कसंगत वाणी थियो । अन्तत: र सौभाग्यवश, प्रदेश निर्धारण गर्दा त्यही वाणी निर्णायक भयो । यद्यपि त्यहाँ पनि राजनीतिज्ञहरूले छल नगरेका होइनन् । त्यसैका फलस्वरूप, एकल जातीय प्रकृतिको साविककै सुदूर पश्चिम सातौं प्रदेश बन्न पुग्यो । अर्थात् प्रदेश २ र ७ साझा पहिचानमा आधारित नभएर अपवाद बन्न गएका छन् । प्रदेश २ मा मधेसी तथा प्रदेश ७ मा डोटेलीभाषी खस–आर्यको वर्चस्व रहन गएको छ । पाँचवटा प्रदेश भने साझा पहिचानमा आधारित छन् ।

माथि भनिएझैं प्रदेशको स्वरूप निर्धारण गर्ने कुस्तीका चल्ते राज्य पुन:संरचनाका अरू महत्त्वपूर्ण पक्षमाथि समुचित ध्यान गएन /दिइएन । विशेष गरेर शासकीय स्वरूप निर्धारणमाथि जति बहस हुनुपथ्र्यो, भएन, हुन सकेन । वास्तवमा राज्यको पुन:संरचना भन्नाको तात्पर्य प्रदेशहरू बनाउनु मात्र थिएन, राज्य संगठनबारे रहिआएको केन्द्रीयतावादी सोच नै बदल्नु रहेको थियो । जड प्रकतिको संसदीय प्रथालाई उन्नत र राजनीतिक स्थायित्व सुनिश्चित गर्ने व्यवस्थाद्वारा प्रतिस्थापित गर्नु राज्य पुन:संरचना परियोजनाभित्रै पर्ने विषय थियो । तर संविधानका अन्तर्वस्तु निर्धारण गर्न भनेर पाँच/सातजना राजनीतिक पेसाकर्मी संविधानसभाका थाप्लामा बसेका थिए । तिनीहरू आफूलाई स्वयंज्ञाता ठान्थे । ती अझै देशका शीर्ष स्थानमा छन् । तिनीहरूले प्राज्ञहरूसित विशद् विमर्श नै गर्नु आवश्यक ठानेनन् र गरेनन् । यहाँसम्म कि तिनीहरूले जनमत संकलनबाट प्राप्त सुझावहरूलाई समेत लत्याए ।

पहिलो हुने प्रथा र समानुपातिक प्रतिनिधित्वको मिश्रणबाट बनेको संविधानसभा र रूपान्तरित संसदले राजनीतिक स्थायित्व सुनिश्चित गर्न नसकेको प्रसंग यहाँ दोहोर्‍याइरहनु आवश्यक छैन । किनभने जे प्रत्यक्ष छ, त्यसको प्रमाण पेस गरिरहनु पर्दैन । निश्चय नै पछिल्लो निर्वाचन सम्बन्धी ऐनले ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरेर समानुपातिक विसंगतिलाई केही सच्याउन त खोजेको छ, तर यसैले मात्र राजनीतिक स्थिरता निश्चित हुँदैन । किनभने नेपालका राजनीतिक दलहरूको आन्तरिक संरचना र कार्यशैली अल्पतन्त्री, एकाधिकारवादी र एकतन्त्री छ । यो यिनीहरूको चारित्रिक विशेषता हो, जसलाई बदल्न लामो अभ्यास र तदनुरूप समय लाग्छ । चारित्रिक स्वभाव बदल्न पुस्ता नै फेरिनुपर्ने पनि हुनसक्छ । यसर्थ राज्यका शासकीय निकाय जनताप्रति सोझै उत्तरदायी हुने प्रकारका हुनुपर्छ, ताकि यिनीहरू लोकतान्त्रिक आचरणका लागि बाध्य बनुन् ।

किनभने कसैको पनि पूर्वनिर्मित चरित्र एकाएक बदलिँदैन । परिपाटीको बनोट नै वास्तवमा पूर्वनिर्मित चरित्र बदल्न बाध्य पार्ने किसिमको हुनुपर्छ । ख्याल रहोस्, राजनीतिज्ञहरू आफैं सुध्रिँदैनन्, यिनमा हुनुपर्ने भनेर कामना गरिएको सुधार पर्खेर बस्न सकिँदैन र मिल्दैन पनि । यिनमा बुद्धमा जस्तो प्रज्ञा उदय हुनु त परै अधिकांशत: उनका कनिष्ट चेलामा हुनुपर्ने जत्ति पनि सामूहिक आचरण छैन । फेरि हो पनि, राजनीतिमा धेरैजसो लोभीपापी नै हुन्छन् । यिनलाई सुधार्न एउटा विधि व्यवस्था र अर्को जनदबाब चाहिन्छ । दबाब भएन भने विधिलाई यिनीहरूले सजिलै उल्टाइदिन्छन् र सर्वप्रथम आफूलाई लाभ हुने, त्यसपछि
आफ्ना पुत्रपौत्रका लागि अनुकूल हुने प्रथा बसाइदिन्छन् । नेपालका राजनीतिज्ञहरू यस मामिलामा झन् खतरनाक छन् । आफूलाई अनुकूल पर्ने हुँदा विगतमा राजाका चरणदास बन्न पुगेका अनुहार व्यवस्था बदलिएपछि गणतन्त्रका वाहक बनेका आँखै अगाडि झलझली छन् ।

राजनीतिमा विरलैमात्र गुणवान हुन्छन्, अधिकांशत: यस्तै मानिस आउँछन् । त्यसैले प्रणाली निर्धारण गर्दा शासनमा गुणवान आउँछन् भन्ने ठान्नु हुँदैन । त्यहाँ पुग्नेहरू अनुत्तरदायी र भ्रष्ट हुने सम्भावनालाई इन्कार नगरी विधि निर्माण गर्नुपर्छ । मत दिएर असल काम गरुन् भन्ने कामना गरी बस्ने होइन कि शासक जनताप्रति सोझै उत्तरदायी हुने तथा शासनमा विचलन आउँदा जनताले हस्तक्षेप गर्नसक्ने व्यवस्था चाहिन्छ । दुर्भाग्यवश, यो संविधानमा त्यस्तो व्यवस्था राखिएन । जे थियो, यिनैका हातमा थियो । त्यसैले आफूलाई बाँध्ने प्रावधान राखेनन् ।


यो नै यस संविधानको मुख्य कमजोरी हो । जारी हुनुपूर्व र भएपछि यसमाथि प्रशस्तै विमर्श हुनुपथ्र्यो, जबकि हुनगयो प्रतिरक्षा । यसका केस्रा–केस्रा केलाउनुपथ्र्यो, हुनगयो ९० प्रतिशतले जारी गरेको संविधान भन्ने तानाशाही अपव्याख्या । सोधौं न, संविधानका पक्षमा कथित ९० प्रतिशत कसरी पुर्‍याइयो ? जवाफ छ, ह्विप जारी गरेर । विदितै छ, ह्विप अर्थात् आदेश, भय र त्रासमा हालिएको मतले ९० प्रतिशत पुगेको हो । संविधान त्यसरी ल्याइँदैन, ल्याउनु हुँदैन । त्यो मत अन्तस्करणको मत थिएन । तर त्यस मिचाहा प्रक्रियामाथि प्रश्न गर्न पाइएन, किनभने पहिला भूकम्प र लगत्तै भारतीय नाकाबन्दीका कारण सबैको ध्यान दैनन्दिनी कसरी चलाउने भन्नेतर्फ गयो ।
त्यतिखेर विद्वान्हरूको ध्यान अत्यावश्यक सामग्री कसरी जुटाउने भन्ने चिन्तामा खर्च भयो । भूकम्पले दिएको धक्का त छँदै थियो, थप चर्चा नाकाबन्दीमै केन्द्रित भयो । संविधानतर्फ होइन, ध्यान भारतीय विदेश मन्त्रालयका विज्ञप्तितिर एकोहोरियो । देख्नलाई भारतले संविधानको विरोध गरेको देखियो, तर यो संविधानबाट ध्यान विकेन्द्रित गरिदिने काम भारतले नै गरिदियो । त्यसबाट सबैभन्दा सञ्च माथि भनिएका ६/७ जनाको नेता–मण्डलीलाई भयो । किनभने न संविधानबारे प्राज्ञले प्रश्न गरे, न मिडियामा सशक्त समीक्षा भयो । फेरि मध्यपूर्वी मधेस आन्दोलन र नाकाबन्दीका चल्ते कसले प्रश्न गर्ने, प्रश्न गर्दा राष्ट्रद्रोही बन्न जाने डर पनि त्यतिकै थियो ।
बितेको समय फर्किंदैन, तर बिग्रेको सच्चिन सक्छ । त्यसैले संविधान लेखियो, सकियो होइन कि अब दुबै तहका लागि हुने निर्वाचन प्रचार अभियानका क्रममा जनस्तरदेखि नै केन्द्र र प्रदेशका शासकीय स्वरूपमाथि पुन: बहस प्रारम्भ हुनुपर्छ । संविधानका अन्तर्वस्तुलाई सार्वजनिक बहसमा लानुपर्छ । अन्यथा ९० प्रतिशतले जारी गरेको भनिएको संविधानलाई यसैभित्र रहेका अस्थिरता निम्त्याउने र यसका आडमा शासनलाई नै कुरूप बनाउने प्रवृत्तिले निलिदिन सक्छ ।

पाठक मञ्च

कायरताको प्रमाण

भारतीय पत्रकार गौरी लंकेशको उनकै गृहनगर कर्नाटक राज्यको बैंगलोरमा गोली हानी हत्या गरिएको खबरले स्तब्ध बनाएको छ । कानुनले निर्धारण गरेसम्मको स्वतन्त्रताको उपभोग गर्दै जातीय अतिवाद र राज्यसत्ता विरुद्ध आवाज उठाउनु उनको अपराध थियो भने उनीमाथि कानुनी कारबाही हुनुपथ्र्याे । वैयक्तिक स्वतन्त्रता सबैभन्दा ठूलो स्वतन्त्रता हो । विचार स्वतन्त्रताको उपभोग गरेबापत कसैले आफ्नो जीवन गुमाउनुपर्छ भने त्यो जत्तिको विडम्बना अरू केही हुनै सक्दैन । खासगरी धार्मिक र राजनीतिक अतिवादले गाजेको दक्षिण एसियाली क्षेत्रमा पत्रकारहरू हमेशा असुरक्षित रहँदै
आएका छन् । पछिल्लो समय समग्र क्षेत्रमा प्रेस जगतले आफ्नो प्रभाव फैलाउँदै आइरहेको सन्दर्भमा धार्मिक, राजनीतिक अतिवादीहरू तथा संगठित अपराधीहरूको निसानामा पत्रकारहरू पर्ने खतरा पनि उत्तिकै बढेको छ । भारतमा गौरी लंकेश माथिको आक्रमण एकजना साहसी पत्रकारमाथिको कायरता प्रदर्शनीमात्र हो ।

पत्रकारिताको प्रमुख धर्म भनेकै सामाजिक विकृति विरुद्ध अभियान हो । असत्य विरुद्धको अभियान हो, पत्रकारिता । परिवर्तनको आधारशिला हो, पत्रकारिता । पत्रकारिता आफैंमा नैतिकता र इमानदारिताको अभियान पनि हो । समाज परिवर्तनमा पत्रकारिता क्षेत्रले निर्वाह गरेको भूमिका विशिष्ट छ । यद्यपि गलत प्रवृत्तिको निसानामा पत्रकारहरू निरन्तर पर्ने गरेका छन् । स्वच्छ र इमानदार पत्रकारिताका लागि यस्ता आक्रमणहरू ऊर्जाका रूपमा प्रस्तुत भैरहेका छन् । अतिवादी सोच, संस्कृति र राजनीति हावी भएको दक्षिण एसियाली परिवेशमा पत्रकारमाथिको आक्रमणको सिलसिला कुनै न कुनै रूपमा कायम रहने आँकलन गर्न सकिन्छ ।
भारतमा पानी पर्दा नेपालमा छाता ओढने प्रवृत्ति रहेको हाम्रो सन्दर्भमा लंकेशको हत्या प्रकरणबाट नेपाली पत्रकारहरूसमेत सचेत रहन
जरुरी छ । शोकलाई शक्तिमा बदल्दै लंकेशको हत्या विरुद्धमा नेपालबाट समेत एकताबद्ध रूपमा आवाज उठाउंँदै हत्यारा पत्ता लगाउन नेपाली कलमहरू सक्रिय रहनुपर्छ । त्यो दिनसम्म नेपाली कलमहरू नथाकुन्, जुन दिनसम्म गौरी लंकेशको हत्यारा पत्ता लाग्दैनन् । व्यावसायिक पत्रकारितामा प्रतिस्प्रर्धा अलग विषय हो । तर पेसागत हक र हितका लागि कुनै पनि भौगोलिक सिमानाभन्दा माथि उठेर कर्म गर्नु पत्रकारहरूको दायित्व पनि हो ।
– उत्तम पुडासैनी
जोरपाटी, काठमाडौं

दक्षिण भारतकी चर्चित पत्रकार गौरी लंकेशको हत्या खबरले दु:खी बनाएको छ । भारतलाई विश्वकै ठूलो लोकतान्त्रिक मुलुक मानिन्छ । तर केही वर्षयता लगातार रूपमा हिन्दु अतिवादीहरूको निसानामा परेर धेरै पत्रकार र लेखक मारिनुले लोकतन्त्रलाई संस्थागत गर्ने बाटोमा लम्किरहेको नेपालसमेत यसको प्रभाव क्षेत्रभित्र पर्ने र पारिने जोखिम छ । मोफसलका र अल्पसंख्यकहरूको भाषामा काम गर्ने लंकेशको हत्याले अल्पसंख्यक, गैरहिन्दु र स्वतन्त्र लेखकहरूको सुरक्षामा प्रश्नहरू उब्जाइदिएको छ । डा. नरेन्द्र दभोल्कर, गोविन्द पसारेहरूको हत्याको घाउ नथाकिकनै भारतीय माओवादीहरूलाई मूलधारमा ल्याउन भूमिका निभाइरहेकी लंकेशको हत्या बर्बरतापूर्ण र कायरतापूर्ण छ । आस्था, भाषा, जात र धर्मको आडमा कोही पनि कलमकर्मीहरूले मारिनु नपरोस् ।
– तुलसीराम खरेल
विर्तामोड, झापा

 त्रिविलाई ध्वस्त पार्ने कि बचाउने ?
‘नेसनलको सम्बन्धन खारेज’ भन्ने त्रिविको विवादास्पद समाचार पढेपछि केही लेख्न मन लाग्यो । त्रिभुवन विश्वविद्यालय नैतिकवान र सभ्य नागरिक बन्न सिकाउने थलो हो । त्यसैले अन्यको तुलनामा प्राध्यापन पेसामा लागेकाहरूको नैतिक मनोबल उच्च रहनुपर्छ । अझ संस्थागत रूपमा नेतृत्व सम्हाल्ने व्यक्ति त झनै उदाहरणीय बन्न सक्ने हैसियतको हुनुपर्छ । तर विडम्बना, राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति गर्दै जाने क्रममा यसपटक जिम्मेवारी सम्हाल्न आइपुगेकाहरूको क्रियाकलापले त्रिविको आजसम्म बचेखुचेको साखलाई धज्जी उडाउने काम भयो । ८८ किलो सुन ल्याउने तस्कर र त्रिविका पदाधिकारीको आचरण उस्तै भयो भनी मूल्याङ्कन हुनथाल्यो ।

विश्वविद्यालयका वेथितिप्रति खबरदारी गर्ने भन्दै आधिकारिक रूपमा खोलिएका नुटा, टुटा छन् । तीभन्दा पनि क्रान्तिकारी बनेर दलपिच्छेका संघ–संगठन खोलिएका छन् । त्यहाँभित्र पनि व्यक्तिपिच्छेका गुट छन् । तर केही व्यक्तिका निहित स्वार्थ पूरा गर्न बारम्बार गरिएका विवादास्पद निर्णयविरुद्ध कोही बोल्दैनन् । आफ्नो सम्पूर्ण जीवन यही संस्थामा बिताउन तयार भएर प्राध्यापक हुनुभएका विद्वानहरूलाई प्रश्न छ, सिङ्गो संस्थामाथि यतिसम्म खेलवाड गर्दा पनि चुप लागेर बस्न कुन कुराले बाध्य पार्‍यो ? के हामी महिनावारी तलब खानकै लागि प्राध्यापक भएका हौं ? भागबन्डामा पदाधिकारी बन्ने बाहेक अरूको संस्थाप्रति कुनै दायित्व छैन ? पदाधिकारीहरू त गैरजिम्मेवार बने नै, त्योसँगै त्यहाँ कार्यरत करिब ७ हजार ५ सय प्राध्यापक पनि उनीहरूसँगै सति गएर त्रिविलाई ध्वस्त पार्ने हो ?
– डा. ढाकाराम सापकोटा

 दोषीलाई कारबाही होस्

अन्तत: नेसनल मेडिकल कलेजको सम्बन्धन खारेजी भयो । यसले म जस्ता धेरै नेपालीलाई खुसी बनाएको छ, डा. गोविन्द केसीको अभियानलाई थप ऊर्जासमेत प्रदान गरेको छ । तर सम्बन्धन खारेज मात्र गरेर हुँदैन । पूर्वाधार नै नभएको कलेजलाई सबै ठिक छ भनी झुटो प्रतिवेदन दिने कविरनाथ योगी लगायत र आर्थिक चलखेल गरी सम्बन्धन दिने त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ लगायतलाई हदैसम्मको कारबाही गर्नुपर्छ । उपकुलपति खनियाँलाई तुरुन्त बर्खास्त गरिनुपर्छ । काठमाडौं उपत्यकामा च्याउझैं खोलिएका मेडिकल कलेज सबैको पुनरावलोकन गरी मापदन्ड नपुगेकालाई खारेज गरिनुपर्छ ।
– कुसुम न्यौपाने
मध्यबिन्दु– ११, नवलपरासी

 कछुवा गतिमा महानगरका मेयर

काठमाडौंका चेतनशील जनताको अत्यधिक मतबाट विजयी मेयर विद्यासुन्दर शाक्यका सामु चुनौतीका पहाड छन् । राजनीतिक, आर्थिक, सांस्कृतिक र धार्मिक धरोहरको केन्द्रका रूपमा रहेको देशकै राजधानीको मुहार फेर्ने सुनौलो अवसर पनि छ । तर बितेका सय दिनबाट लाग्छ, उनको कार्यशैली कछुवा गतिमा छ । देखिने वा प्रचार गर्नलायक काम भएको देखिन्न । बरु आफू र आफ्ना जनप्रतिनिधिको सुविधा वृद्धिमा बढी ध्यान केन्द्रित गरेका छन् । उनी एउटा सशक्त पार्टीको आसा र भरोसाका किरण भएर स्थानीय चुनावमा उदाएका हुन् । तर उनको यस्तो अकर्मण्यतालाई पार्टीले टुलुटुलु मात्र हेर्ने वा उनलाई विकास निर्माणको काममा घचघच्याउने हो ? यही क्रम रहिरहे आसन्न केन्द्र र प्रदेशको चुनावमा काठमाडौंका जनतासामु पार्टीले फेरि भोट कसरी माग्ने ?
– देवीप्रसाद भट्टराई
बालकोट, भक्तपुर

 कर्मचारीतन्त्रको व्याख्या जरुरी

भदौ २२ मा प्रकाशित हरि रोकाको ‘७० वर्षे भारतलाई नियाल्दा’ लेखले प्रधानमन्त्री नरेन्द्र मोदीको असफल नीतिबारे प्रस्ट पार्न खोजेको छ । हाम्रो छिमेकी हुनुका साथै दैनिकीसँंग सिधै जोडिएको मुलुकका बारेमा यसरी विश्लेषण गर्नु जरुरी छ नै । यद्यपि भारत आफैमा एउटा विश्व हो । भारतमा राजनीतिक दलको बहुमत सरकारले पनि आफूले चाहँदैमा काम गर्न सक्दैन भन्ने गतिलो उदाहरण नै मोदी सरकार हो । त्यहाँको कर्मचारीतन्त्रका कारण कुनै पनि राजनीतिक दलले आफ्नो चाहना अनुसारको भारत बनाउन सक्दैन । यो कुरा सिंगापुरका निर्माता ली क्वानले पनि आफ्नो आत्मकथामा राम्ररी व्याख्या गरेका छन् । भारतमा अहिले पनि त्यहाँका कर्मचारीहरूमा उद्योग तथा व्यापार गरिरहेका मानिसहरूलाई सेवा दिने नभई उनीहरूबाट कसरी फाइदा असुल्ने भन्ने खालको मनसाय रहेको पाइन्छ । यो सबैभन्दा ठूलो भारतको शत्रु हो । यो भारतीय समस्या नेपालको पनि हो । साझा समस्या भएकाले यसमा सहकार्य आवश्यक छ, नकि भारतको एकोहोरो विरोध र उसको असफलताको कहानी भन्ने । चीनले पनि यही समस्याकै कारणले नै सांस्कृतिक परिवर्तन गर्नुपरेको हामी सबैले बुझेका छौं । मोदीले कर्मचारीतन्त्रमा फेरबदल नगरिकनै परिवर्तनको डिङ हाँके अनि असफल भए । मोदीले राम्रै पाठ सिकेको हुनुपर्छ ।
पछिल्लो समय भारतको छिमेकी नीति सुमधुर सम्बन्ध विकास गर्ने र छिमेकी खुसी बनाउने नै रहेको छ । तर यो कुरा पनि भारतीय कर्मचारीतन्त्रकै कारण सफल हुने देखिँदैन । त्यसैले भारतीय राजनीतिको व्याख्या गर्दा उसको कर्मचारीतन्त्रको पनि सँंगै व्याख्या गरिए धेरै नेपालीले नेपाल र भारतबारे बुझ्नलाई सहज हुने थियो । रोकाको जस्तै नेपालका विद्वानहरूको व्याख्याकै कारणले प्राय: नेपालीको भारतप्रति हेर्ने दृष्टिकोण नकारात्मक मात्रै हुने गरेको देखिन्छ । भारतका राम्रा र नराम्रा दुवै कुराबाट हामी सिक्न सक्छौं, यसतर्फ नेताहरूले ध्यान दिने कि ?
जीवनप्रसाद राई
धनकुटा– १, हिले

 धितो नमानिने लालपुर्जा

भदौ २२ गते कान्तिपुरमा प्रकाशित ‘सीमा क्षेत्रका कृषक ऋणबाट बञ्चित’ शीर्षकले ध्यानाकर्षण गरायो । सीमा क्षेत्रको जमिन धितोका रूपमा स्वीकार्य नहुनाका साथै बालीनालीको विमा पनि हँुदैन भन्ने स्थानीय बासिन्दाको गुनासोलाई सरकारले कहिले सम्बोधन गर्छ ? कञ्चनपुरको पुनर्वास नगरपालिका भारतीय जनता तथा भारतीय सरकारको प्रभावमात्रै नभएर भारतको दुधुवा राष्ट्रिय निकुञ्जका जंगली हात्तीबाट पनि पीडित क्षेत्र हो । अर्को, निकुञ्जसंँग नजिक पर्ने नेपालको भूमिमा रहेको पलिया ताललाई भारतले आफ्नो बनाउने खेलमा सीमाभन्दा करिब १.५ किलोमिटर नेपालतर्फ जिरो प्वाइन्ट खडा गरेर नेपाललाई सहयोग गरेको भन्ने नाममा बाटो निर्माण गरिदिएको छ । अब नेपालको ताल भारतीय कब्जामा जाँदैछ भन्ने जानकारी स्थानीयले दिँदादिँदै पनि सरकारी संयन्त्र मौन छ ।
त्यस्तो क्षेत्रमा बसोबास गरेका राष्ट्रप्रेमी जनतालाई नेपाल सरकारले राहत र क्षतिपूर्तिको व्यवस्थासँंगै जीविकोपार्जनमा आकर्षण ल्याउनु त कहाँ छ कहाँ, उल्टै सीमा क्षेत्रमा बस्ने समुदायले आफ्नो जग्गा धितोमा राखेर जीविकाका लागि कुनै व्यवसाय गर्न खोज्दा सरकारी बैंकहरूले पनि धितो नराखिदिएर मर्कामा पारेका छन् । लालपुर्जा हातमा छ, वर्षैपिच्छे मालपोत कर तिरेकै छन्, तर बैंकले धितो नमान्दा आयआर्जन गर्न पाएका छैनन् । उसै त पुनर्वास नजिकको सीमा क्षेत्रमा बस्नु सजिलो छैन । विगतमा सीमा विवादमा नेपाली युवाले ज्यान गुमाउनुपरेको क्षेत्र पनि त्यही नै हो । उता भारतीय गुन्डाको सामना गर्नुपर्ने, अर्को रातभरि जंगली हात्तीको आतंक, त्यहीमाथि आफ्नै सरकारले गरेको विभेद, कसरी सहने ? सरकारले धितो स्वीकार गरी स्थानीय किसान, व्यापारीले बैंकबाट कारोबार गर्ने वातावरण गराउनुपर्‍यो । नत्र सरकारले नै विकल्प सहितको ऋण या अनुदानको व्यवस्था गर्नुपर्‍यो । अन्यथा यस्तो विभेदको क्रियाकलापले राम्रो सन्देश दिँदैन ।
– छविलाल न्यौपाने
अध्यक्ष, मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ, नेपाल

 टिकट अग्रिम बुकिङ गर्न पाइएन

केही दिन पहिले सार्वजनिक बस व्यवसायी समिति तथा यातायात व्यवस्था विभागबीच भदौ २२ गतेदेखि दसैंका लागि बस टिकट अग्रिम बुकिङ गर्ने समाचार सुनेको थिएँ । त्यही समाचारका आधारमा बस टिकट अग्रिम बुकिङ गर्न बिहीबार बिहान ६ बजेतिर नयाँ बसपार्क पुगेको थिएँ । तर सार्वजनिक बस व्यवसायी समिति र यातायात व्यवस्था विभागबीच भएको सहमति अनुसार २२ गतेदेखि बस टिकट बिक्री खुला गर्ने निर्णय बस व्यवसायीले कार्यान्वयन नगर्ने भएछ । अग्रिम बस टिकट नखुल्ने जानकारी हिजोअस्ति किन दिइएन ? सहमति नै नभएको भए सहमति भयो, २२ गतेदेखि बस टिकट खुल्ने भन्ने जानकारी किन समाचारमा आयो ? सार्वजनिक यातायातका बसले दसैंमा उपत्यका बाहिर जान खोज्दा पनि अग्रिम टिकट नदिएपछि कसरी जाने ? जसरी भए पनि पैसामात्र कमाउने होड गर्ने बस व्यवसायी समितिको जय होस् !
– गंगाराज अर्याल
पाँणिनी–८, पाली, अर्घाखाँची

 मतदानमा विवेक पुर्‍याऔँ

कान्तिपुरको बिहीबारको अङ्कमा ‘मुखिया चुन्न आतुर’ शीर्षकको आवरण समाचार पढेपछि प्रदेश नं.२ को आसन्न निर्वाचनबारे केही भन्न मन लाग्यो । असन्तुष्ट पक्षसँग सरकारको पटक–पटकको अथक प्रयासपछि बल्ल–बल्ल त्यस प्रदेशमा निर्वाचन हुँदैछ । केही साता अघिको बाढीले पुर्‍याएको अपुरणीय क्षतिका बाबजुद पनि त्यहाँका जनता निर्वाचनप्रति उत्साहित देखिएका छन् । वर्षाैँपछि स्थानीय प्रतिनिधि छनोट गर्ने अवसर पाउँदा जनतामा उत्साह छाउनु स्वाभाविक पनि हो । यस अघि दुई चरणमा छवटा प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन सम्पन्न भएका स्थानीय तहका अधिकांश जनप्रतिनिधिका क्रियाकलाप कति प्रभावकारी ढङ्गबाट अगाडि बढ्दैछन् भन्ने कुरा देशभरिका जनताले राम्ररी देखेका मात्रै होइनन्, भोगिसकेका छन् । निर्वाचन अघि योजनाका ठूलठूला आश्वासन बाँड्ने तर निर्वाचित भएपछि माखो नमार्ने प्रवृत्ति अधिकांश प्रतिनिधिमा देखिइसकेको छ । देशकै सबैभन्दा ठूलो महानगर काठमाडौँ नै यसको ज्वलन्त उदाहरण हो । त्यसैले यसपूर्व निर्वाचन सम्पन्न भइसकेका स्थानीय तह र त्यहाँका प्रतिनिधिबाट राम्रोसँग पाठ सिकेर कस्तो उम्मेदवार छनोट गर्ने भन्ने विषयमा प्रदेश नं. २ का मतदाताले विवेक पुर्‍याउनैपर्छ । त्यस्तै अरू बेला मधेसी जनताको मुक्तिको कुरा गर्ने अनि तिनै जनता प्राकृतिक प्रकोपको विपत्तिमा परेर छट्पटाइरहँदा नाकमुखसम्म नदेखाउने नेताहरूलाई यो निर्वाचनमा जनताले राम्रोसँग चिन्न सकेनन् भने प्रदेश नं. २ का जनताले सधैँ दु:ख पाइरहनेछन् ।
– सोनिया मेहता
काञ्जीरोवा नेसनल मावि, कोटेश्वर, काठमाडौँ

 सुन तस्करीको ट्रान्जिट
नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट हो भनेर पुष्टि गर्न अब कुनै तर्क दिइरहनै पर्दैन । क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद भएपछि सबै कुरा छर्लङ्ग छ । यो तस्करीको खेलमा सामान्य मान्छेमात्र सहभागी छन् भन्ने लाग्दैन । रसुवा हँुदै १७ वटा चेकपोस्ट पार गरेर काठमाडौंसम्म सहज अवतरण सेटिङकै आधारमा मात्र सम्भव छ । हरेक महिना मुख्य समाचार बन्ने सुन तस्करीमा मुख्य नाइके को छ त ? खोतल्न अब नेपाल प्रहरी लागिपर्नु पर्छ । थोरै रकम धरौटी राखेर तस्करीमा संलग्नहरू छुट्ने अनि फेरि तिनै तस्करहरू आफ्नो पुरानै पेसामा फर्किने हुनाले पनि सुन तस्करी रोकिनसकेको छैन । विदेश गएकाहरू फर्किंदा आफ्नैलागि ल्याउने सुन समात्न सक्ने प्रहरी ८८ केजी काठमाडौं ल्याइपुर्‍याइन्जेल किन समात्न सक्दैन ? मुख्य नाइके समाएर सार्वजनिक नगरिन्जेलसम्म चेकपोस्टमा रहने सुरक्षा निकायमाथि पनि शंका गर्ने प्रशस्त ठाउँ रहन्छ ।
– समय अधिकारी
सिनाम, ताप्लेजुङ

 पुरस्कारमा शिक्षासेवीलाई तिरस्कार

शिक्षा क्षेत्रमा संलग्न भएका व्यक्तिले दिएको योगदानको उच्च सम्मान गर्दै नेपाल सरकार शिक्षा मन्त्रालयबाट प्रत्येक वर्ष दिइने गरिएको शिक्षा पुरस्कारको महत्त्व र गरिमा निश्चय नै महान हुनुपर्ने हो । तर केही वर्षयता दलीय भागबन्डाका आधारमा शिक्षा पुरस्कारका लागि नाम सिफारिस गर्ने दुष्प्रवृत्ति मौलाउँदै जानथालेकाले शिक्षा पुरस्कारबाट वञ्चित हुने वास्तविक शिक्षासेवीको तिरस्कार हुँदै गएजस्तो देखिन्छ । कुनै राजनीतिक दलको अन्धभक्त कार्यकर्ता नबन्ने र शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनुहँुदैन भनेर शैक्षिक गुणस्तर वृद्धि गर्दै जान तल्लिन भएका शिक्षासेवीहरूलाई तिरस्कार गरेर राजनीतिलाई मुख्य प्राथमिकतामा राखी आफ्नो जागिर धान्दै आउने व्यक्तिहरू पुरस्कृत हँुदै जानु निश्चय नै गम्भीर चिन्ताको विषय हो ।

शिक्षा क्षेत्रमा संलग्न हुनेहरू राजनीतिक पहुँचकै आधारमा दुई–चार वर्षमा पुरस्कृत हँुदै जानु तर दुई–तीन दशकसम्म शिक्षा क्षेत्रमा निष्ठाका साथ समर्पित भएका शिक्षासेवीलाई पुरस्कार होइन, तिरस्कार गर्दै जाने परिपाटीले निश्चय नै शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि हुन सक्तैन । गणतन्त्र र लोकतन्त्र आइसक्ता पनि चाकडी, चाप्लुसी र राजनीतिक भागबन्डाकै आधारमा शिक्षा पुरस्कार दिने प्रवृत्ति मौलाउँदै जाने हो भने शिक्षा क्षेत्रको धिपधिपे उज्यालो पनि कायम रहन सक्तैन भन्ने बारेमा शिक्षा दिवसकै अवसरमा सम्बद्ध निकायले प्रतिबद्धता र निष्पक्षता कायम गर्न अग्रसर हुनु नितान्त आवश्यक देखिन्छ ।
– डा. मतिप्रसाद ढकाल
सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय

 वचन पूरा गर्न बेवास्ता

गत स्थानीय चुनावमा एमालेले आकर्षक एवं लोकप्रिय चुनावी नारा उरालेको थियो । पार्टीको घोषणापत्रमा नगरपालिकालाई सुन्दर, स्वच्छ, हराभरा पार्ने प्रतिबद्धता जाहेर गरेको थियो । काठमाडौंलाई त नमुना नगर बनाउने संकल्प पनि गरेको थियो । काठमाडौंका सडक चिल्ला र फराकिला पार्ने, बिजुलीका धराप तारलाई व्यवस्थित गर्ने, शुद्ध खानेपानी वितरण गर्ने, धुवाँ, धुलोरहित तथा प्रदूषणमुक्त गर्नेदेखि मेट्रो बस, भूमिगत रेल चलाउने तथा स्मार्ट सिटी बनाउनेसम्मका वाचा गरिएका थिए । तर चुनाव सकिएको ३ महिना बित्नलाग्दा पनि यो महानगर फोहोरको डंगुरभित्र पुरिएको पुरियै छ । यही नाराका आधारमा एमालेले ठूलो पार्टीको हैसियत पनि बनायो, तर कामचाहिँ केही गरेन । काठमाडौंका मेयरले नगरपालिकाका पदाधिकारीहरूलाई अत्याधुनिक मोबाइल किन्न बजेट छुटयाइन लागेको हल्ला चलेको थियो । एमाले जस्तो राष्ट्रिय पार्टीको हैसियत बनाएको पार्टीले आफ्ना वचन पूरा गर्नेतिर पहलै नगर्नु आश्चर्यको विषय बनेको छ । काठमाडौं महानगरपालिकामा अधिकांश सदस्य एमालेकै छन् । मेयर पद नै एमालेले जितेको छ । तर आजसम्म सामान्य कार्य पनि गरिएको जानकारीमा आएको छैन । के चुनाव जित्नमात्रै यी नारा उरालिएको हो ?
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
महाकवि देवकोटा आश्रम, काठमाडौं

Page 9
विविधा

दलाल समाजवादको आतंक !

- मुराहरि पराजुली

‘दलाल’ समाजवादी वा साम्यवादी प्रणालीलाई आवश्यक हुन्छ, पुँजीवादी व्यवस्थामा
जनताले आफ्नो व्यवस्था आफंै गर्छन् वा बजारको अदृश्य हातले गर्छ ।
द लाल पुँजीवाद सुन्दै आएका हामीलाई यो लेखको शीर्षक अनौठो लाग्न सक्छ । ‘दलाल समाजवाद’ पदावलीलाई पचाउनेगरी हामी अभ्यस्त भइसकेका छैनौं । राज्य सञ्चालनमा ‘दलाल’ नै नचाहिने प्रणाली ‘दलाल पुँजीवाद’ हुने तर ‘दलाल’ अनिवार्य भएको व्यवस्था भने ‘दलाल समाजवाद’ किन नहुने ? भन्ने यो लेखको चासो हो ।
केही साताअघि, यसै दैनिकमा एकजना मिहेनती किसानको उत्पादनले भाउ पाउन नसकेको सन्दर्भलाई लिएर लेखिएको लेख प्रकाशित भएको थियो । ‘हुन त म अर्थशास्त्रको ज्ञाता होइन’ भन्दै सुरु भएको उक्त लेख ‘पुँजीवादीभन्दा समाजवादी अर्थव्यवस्था ठिक हो’ भन्ने निष्कर्षसँगै टुंगिएको थियो । अर्थशास्त्रको ज्ञान नै नभएका विद्वान लेखक कसरी पुँजीवादीभन्दा समाजवादी अर्थव्यवस्था उत्तम हो भन्ने टुंगोमा पुगे भनेर पाठकले आश्चर्य मान्नुपर्ने अवस्था थियो ।
तीजको अवसरमा एउटा लेख पुँजीवादसँग जोडिएर आएको थियो । ‘तीज र पुँजीवादी भड्काव’ शीर्षकको उक्त लेखमा धनवानहरूले पर्वमा गर्ने फजुल खर्च र यसबाट धनहीनहरूलाई पर्नगएको अप्ठेरोको चर्चा गरिएको थियो । यो लेखमा पनि शीर्षकमा पुँजीवाद किन आयो, पाठकले थाहा पाउने अवस्था थिएन ।
केही दिनअघि व्यापार घाटा बढ्दै गएको, आन्तरिक उत्पादन घट्दै गएको अवस्थालाई लिएर मुलुकले मानेको अर्थविद तथा पाका राजनीतिकर्मीले अर्को लेख लेखेका थिए । उनले पनि ‘दलाल पुँजीवाद’लाई समस्याको कारकका रूपमा प्रस्तुत गरेका थिए ।

‘पुँजीवाद’ शब्दको दुरुपयोग बढ्दै गएको यी केही उदाहरण हुन् । नेपालमा कम्युनिष्टहरूले धेरै शब्द तथा शब्दावलीलाई चर्चित बनाएका छन् । उच्चारणले मात्रै मान्छेलाई रोमाञ्चित बनाइदिने त्यस्ता शब्दहरूको जति धेरै प्रयोग गरेर लेख्न सक्यो वा बोल्न सक्यो, त्यति नै ठूलो क्रान्तिकारी बनिने अवस्था अझै छ । त्यसमध्ये ‘पुँजीवाद’ एउटा हो । गैरकम्युनिस्ट र मन नपरेकालाई पुँजीवादसँग विभिन्न विशेषण जोडेर गाली गर्ने अनि आफूलाई खाँट्टी कम्युनिस्ट कहलाउने तिगडमसँग हामी परिचित छौं ।

कम्युनिस्ट पार्टीका पूर्णकालीन नेता तथा कार्यकर्ताले आफूले अँगालेको वाद नै सही हो, पुँजीवाद खराब हो भन्नु अनौठो होइन । तर आफूलाई स्वतन्त्र भन्न रुचाउने बुद्धिजीवीसमेत निरपेक्ष रूपमा पुँजीवादलाई गलत सावित गर्न उद्यत हुनु अस्वाभाविक हो । यसले स्वच्छ बौद्धिक बहस तथा उन्नत चिन्तन परम्पराको विकासमा योगदान गर्दैन । यसैको प्रभाव हुनुपर्छ, हाम्रो अर्थराजनीतिक बहस एकांगी हुँदै गएको छ । पुँजीवादसँग जोडिएर आएका सबै कुरा गलत हुन् भन्ने मान्यता विकसित हुँदै गएको छ । मान्छे समाजवादी भइदिए पुग्छ । समाजवादको बिल्ला भिरेपछि उसले असल काम गर्नु पर्दैन, पुँजीवादी नहुनु नै पर्याप्त हो ।
जानी–नजानी ठाउँ–कुठाउँमा ‘पुँजीवाद’ शब्द प्रयोग हुनुमा हाम्रा ‘क्रान्तिकारी कम्युनिस्ट’हरूको चर्को भाषणको ठूलो योगदान छ । बहुसंख्यक नेपालीमा पुँजीवाद शब्दले ठूलो नकारात्मकता बोकेको हुन्छ भन्ने भान परेको छ । जसरी समाजवाद वा माक्र्सवादलाई नपढिकनै राम्रो भनिन्छ, त्यसैगरी पुँजीवादलाई नपढिकनै नराम्रो भनिन्छ । गरिबहरूको मुलुकमा पुँजी हुनेहरूको मनोमानी चल्ने व्यवस्था नै पुँजीवाद हो भनेर अथ्र्याइदिएपछि बुझ्न बाँकी नै के रहन्छ र ? अझै पुँजीवाद विश्व बैंक, मुद्राकोष र विश्व व्यापार संगठनको एजेन्डा हो, अमेरिका र युरोपेली साम्राज्यवादीको लुट्ने सूत्र हो भनेर थप बदनाम गरिएको छ । पँुजीवादलाई बदनाम गरेकै भरमा समाजवाद स्थापित हुन खोजेको छ ।

अक्सफोर्ड डिक्सनरीका अनुसार ‘क्यापिटालिजम’ शब्दको पहिलो प्रयोग विलियम मेकपिस थ्याकरेले सन् १८५४ को उपन्यास ‘द न्युकम्स’मा गरेका थिए । एडम स्मिथ लगायतका विचारक जसलाई कथित पुँजीवादको प्रवर्तक मानिन्छ, उनीहरूले यो शब्द प्रयोग नै गरेका छैनन् । माक्र्स र एंगेल्सले पनि ‘क्यापिटालिजम’ शब्दको प्रयोग निकै थोरै गरेका छन् । यसको सट्टामा उनीहरूले ‘क्यापिटालिस्ट मोड अफ प्रोडक्सन’ र ‘क्यापिटालिस्ट सिस्टम’ प्रयोग गरेका छन् ।
अंग्रेजीमा ‘इजम’ र नेपालीमा ‘वाद’ जोडिएका शब्दहरूले बृहत अर्थ राख्छन् । सबै सन्दर्भमा ‘इजम’ वा ‘वाद’ले विचार पद्धति वा चिन्तनधारा, अभ्यास, आदर्श, मूल्य, मान्यतालाई संकेत गर्दैन । व्यक्ति, प्रवृत्ति वा वस्तुको विशिष्ट अवस्थालाई बुझाउनेगरी पनि ‘इजम’ वा ‘वाद’ प्रयोग भएको हुन्छ । जस्तो सामन्तवाद, नातावाद, कृपावादले कुनै चिन्तनधाराको प्रतिनिधित्व गर्दैन । तर अराजकतावाद, पुँजीवाद, राज्यवाद, समाजवाद, साम्यवादजस्ता पदावलीमा विचार पद्धति वा चिन्तनधारा, अभ्यास, आदर्श, मूल्य, मान्यता सँगसँगै प्रवृत्ति र विशिष्ट अवस्था पनि जोडिएको हुन्छ ।

‘पुँजीवाद’लाई जोडेर हामीकहाँ हुने छलफल (लेखाइ वा भाषण) मा केलाई संकेत गर्न खोजिएको हो, छुट्याउन गाह्रो हुन्छ । ती छलफलहरू विषयवस्तु (कन्टेन्ट) मा भन्दा शब्दाडम्बर (रिटोरिक) मा रुमल्लिएका हुन्छन् । कुनै विषय कसरी पुँजीवादसँग जोडिन आइपुग्यो र त्यो के कारणले सही वा गलत हुनपुग्यो भनेर व्याख्या गर्ने कष्ट वक्ता वा लेखकले गर्दैनन् । उठान गरिएको विषयलाई तथ्य वा तर्कबाट पुष्टि गर्ने प्रयास गरिँदैन, एउटा सन्दर्भलाई लिएर सोझै निष्कर्षमा पुगिन्छ ।

पुँजी, श्रम, भूमिजस्ता उत्पादनका साधनको निजी स्वामित्व र परिचालनले अधिकतम उत्पादन र आदर्शतम वितरण सुनिश्चित गर्छ भन्ने पुनर्जागरणकालीन जोन लक, एडम स्मिथ, जेएस मिल लगायतका विचारकहरूको तर्क थियो । बजार शक्तिको स्वतन्त्र अन्तरक्रियाबाट त्यस्तो आदर्शतम अवस्था हासिल हुन्छ भन्ने उनीहरूको मान्यता थियो । कार्लमाक्र्सले भने पुँजीको स्वामी हावी हुँदा बजारले सन्तुलन प्राप्त गर्न सक्दैन, त्यसैले बाह्य हस्तक्षेप आवश्यक हुन्छ भनेका थिए । ‘सर्वहाराको सत्ता’लाई उनले बजार सन्तुलन कायम गर्नसक्ने हस्तक्षेपकारी निकायका रूपमा प्रस्तुत गरेका थिए ।
माक्र्सकै तर्क बमोजिम नभए पनि पुँजी उत्पादनका अन्य साधनभन्दा सौदाबाजीमा माथि हुन्छ र तुलनात्मक रूपमा बढी प्रतिफल प्राप्त गर्छ भन्ने सिद्ध भइसकेको छ । तर माक्र्सले भनेझैं पुँजीको स्वामी स्थिर हुँदैन । अहिलेको आधुनिक अर्थतन्त्रमा त झन् पुँजीको स्वामी को हो, को होइन भन्ने छुट्याउन कठिन बन्दै गएको छ । पुँजीको परिभाषामा पर्ने मूर्त तथा अमूर्त वस्तुको दायरामा पनि व्यापक विस्तार भएको छ । त्यसैले पुँजी, श्रम र भूमिको स्वामीलाई अलग्याउँदै नियोजित तथा निश्चित अर्थराजनीतिक दिशामा बढ्ने विषय असान्दर्भिक बनेको छ ।

हाम्रो समाज यो बहसमा सामेल नै छैन । विभिन्न कारणले हामी हाम्रा नेताहरूलाई मनपराउँदैनौं, तर उनीहरूले तय गरिदिएको गन्तव्यमा जान राजी छौं । उनीहरूले हाम्रो लक्ष्य राज्य बलियो हुने समाजवादी व्यवस्था हो भन्दै संविधानमा लेखिदिएका छन् । त्यसै अनुरूप राष्ट्रिय योजना आयोगले कागजमै सीमित हुने भए पनि योजना बनाइदिएको छ ।

माक्र्स र माक्र्सवादीले भनेकै मान्ने हो भने उत्पादन र वितरणको सर्वोत्तम व्यवस्थाका लागि सर्वहाराहरूको अधिनायकत्व आवश्यक हुन्छ । त्यो अधिनायक
किसान, मजदुरहरूको प्रतिनिधि (एजेन्ट) हो ।

‘एजेन्ट’लाई नेपालीसहितको भारतीय भाषामा मध्यस्थकर्ता वा दलाल भनिन्छ ।
माक्र्स र माक्र्सवादले विरोध गरेको अर्थ राजनीतिक बजार प्रणालीलाई ‘पुँजीवाद’ र उनीहरूले प्रबद्र्धन गर्न खोजेको सामूहिकतामा आधारित राज्यकेन्द्रित प्रणालीलाई ‘समाजवाद’ वा ‘साम्यवाद’ भन्ने हो, ‘दलाल’ दोस्रो किसिमको व्यवस्थामा आवश्यक हुन्छ, पहिलोमा होइन । अर्थात ‘दलाल’ समाजवादी वा साम्यवादी प्रणालीलाई आवश्यक हुन्छ, पुँजीवादी व्यवस्थामा जनताले आफ्नो व्यवस्था आफै गर्छन् वा बजारको अदृश्य हातले गर्छ ।

हाम्रा दलहरू कुनै न कुनै किसिमले आफूलाई समाजवादीका रूपमा प्रस्तुत गर्न चाहन्छन् । कांग्रेसले बीपीको समाजवाद जपेर ब्याज खाइरहेको छ । एमाले र माओवादीले आफूलाई कम्युनिस्ट भएको दाबी गर्छन् । तराई र पहाडका पहिचानवादी दलहरूले समेत आफ्नो नाममा समाजवादको फुर्को जोडेका छन् । नयाँ सोचका साथ अगाडि आएको भन्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत हुन खोजिरहेको समूहले पनि ‘कल्याणकारी राज्य’को कुरा गरिरहेका छन् । राज्य वा सरकारलाई प्रधान मान्ने यस्तो सोच र शक्ति समाजवादी वा साम्यवादी जत्तिकै कमसल हुन्छ ।

अहिले मुलुकमा सक्रिय राजनीतिक शक्तिहरूबीच एउटैमात्र समानता छ । यी सबै समाजवादी वा राज्यवादी हुन् । हाल व्याप्त विसंगति तथा हाम्रा दु:खको जिम्मेवार यिनलाई मान्ने हो (मान्नै पर्छ) भने समस्याको मूल जरो दलाल (प्रतिनिधि, नेता, मध्यस्थकर्ता, एजेन्ट) अपरिहार्य रहेको समाजवाद (राज्यवाद) हो भन्नुपर्छ । सत्ता, विपक्ष, संसद, सडकमा जताततै समाजवादी छन् । त्यसकारण समस्या ‘दलाल पुँजीवाद’ होइन, ‘दलाल समाजवाद’ हो । अस्तित्वमै नआएको पुँजीवाद हाम्रो समस्या कसरी हुनसक्छ ?
चित्त बुझाउन दलहरू सच्चा समाजवादी नभएर वा समाजवादी मूल्य–मान्यताप्रति प्रतिबद्ध नभएर समस्या आएको हो भन्न सकिएला । तर दलहरू समाजवादप्रति साँच्चिकै इमानदार हुँदा पनि समस्या ज्युँकात्युँ रहन्छ । एउटा प्रतिबद्ध समाजवादीले ठानेको आदर्श राज्य (गन्तव्य) मा पुग्ने माध्यम (मार्ग) पुँजीवाद हो भन्छ । तर त्यो गन्तव्यमा कहिल्यै पुगिँदैन । मानवीय समाज कुनै गन्तव्यमा पुग्न यात्रा गरिरहेकै छैन । यात्रा स्वयंमा सबथोक हो । भोलिका कुरा देखाउने, अमूक गन्तव्यलाई देखाउने प्रवृत्ति समाजवादी असफलताका बहाना मात्र हुन् ।

वर्तमानप्रति तपाई असन्तुष्ट हुनुहुन्छ र यसको कारण ‘दलाली’ प्रवृत्ति हो भन्नुहुन्छ भने त्यो कारण समाजवादी हो, पुँजीवादी होइन । तपाईले समस्याको पहिचान गर्नुभएको छ, तर समाधानका लागि गलत निसानामा प्रहार गरिरहनुभएको छ । त्यसैले असन्तुष्टि ‘दलाल समाजवाद’प्रति जाहेर गरौं, विरोध राज्यवादको गरौं । सिंहदरबारलाई होइन, गाउँघरलाई बलियो बनाऔं । नेताको होइन, जनताको सेवा हुने चिन्तनधारा पनि छ, खोजेर अध्ययन गरौं, तुलना गरौं ।
पुँजीवाद हाम्रा खराब नेताले भनेजस्तो विचारशून्य अर्थराजनीतिक प्रणाली होइन । नेताको लहैलहैमा लागेर हामी ज्ञान र चेतनाको विशाल संसारबाट टाढिएका छौं । हामीलाई समाजवाद घोलेर पियाइएको छ । पहिले ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ भनिन्थ्यो, अहिले पञ्चको ठाउँ समाजवादीले लिएको जस्तो भएको छ । त्यसैले समाजवादभन्दा पर केही छ भन्ने हामीले देख्न, बुझ्न खोज्दैनौं । समाजवादका नाममा बलिया शासकहरूबाट शासित हुने बाटोमा हामी हिँडिरहेका छौं । ‘समाजवादी दलालहरू’बाट लुटिन तयार हुँदै गएका छौं । दलाल समाजवादको आतंक बढ्दो छ ।
[email protected]

विविधा

ब्रिक्समार्फत प्रकट चिनियाँ प्रभाव

बेइजिङ डायरी
- चेतनाथ आचार्य

यही भदौ १८ गते चीनको दक्षिणपूर्वमा पर्ने फुचियान प्रान्तको स्यामनमा सुरु भएको नवौँ ब्रिक्स शिखर सम्मेलन भदौ २० गते सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले ब्रिक्स खुलस्त, पारदर्शी र साझा हितयुक्त हुनुका साथै कुनै तेस्रो पक्ष लक्षित नभएको बताए । घुमाउरो अर्थमा उनले ब्रिक्सलाई सबै विकासोन्मुख राष्ट्रहरूको साझा संस्था बनाउन चाहेको संकेत गरेका छन्। एक दशकअघि स्थापित ब्रिक्स अहिले विश्वको महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित भएको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका ब्राजिल, रूस, भारत र चीनका विदेशमन्त्रीहरूले सन् २००६ सेप्टेम्बरमा न्युयोर्कमा एउटा ‘साइड लाइन’ बैठक गरेका थिए, जसले चारवटा मुलुकको एउटा समूह बनाउने निर्णय गर्‍यो । त्यसमा चार वर्षपछि दक्षिण अफ्रिका पनि प्रवेश गर्‍यो । २००८ मा अमेरिका र युरोपमा आर्थिक मन्दी आउनुपूर्व विकसित देशहरूले विकासोन्मुख मुलुकलाई हेय भावले हेर्थे । अमेरिका, युरोप, अष्ट्रेलिया, जापान लगायतका मुलुकहरूले भर्खर विकासको पथमा हिँड्दै गरेका अन्य मुलुकलाई गरेको भेदभावपूर्व व्यवहार र आर्थिक दादागिरीकै कारण ब्रिक्सको जन्म भएको थियो ।
सन् २०१५ को तथ्याङ्क अनुसार ब्रिक्स मुलुकहरूको जनसंख्या ३ अर्ब ६० करोड छ, जो विश्व जनसंख्याको ४० प्रतिशत हो । त्यसैगरी यी पाँच मुलुकहरूको एकीकृत कुल गार्हस्थ उत्पादन १६.६ ट्रिलियन डलर छ । यो विश्वको २२ प्रतिशत हिस्सा हो । चीनको पहलमा ब्रिक्स विकास बैंक स्थापना भएको तीन वर्ष भयो । अहिले यसको नाम फेरेर न्यु डेभलपमेन्ट बैंक राखिएको छ । चीनको साङहाईमा मुख्यालय रहेको यो बैंकमा ब्रिक्स आबद्ध पाँच मुलुकले १० अर्ब डलरका दरले ५० अर्ब डलरको पुँजी व्यवस्था गर्ने सहमति भएको छ । यो बैंकलाई विश्व बैंकको प्रतिस्पर्धी मानिन्छ ।

ब्रिक्सको फैलँदो आर्थिक प्रभाव र महत्त्व बुझेर यसमा प्रवेश गर्नका लागि अफगानिस्तान, अर्जेन्टिना, इन्डोनेसिया, मेक्सिको र टर्की व्यग्र प्रतीक्षामा छन् । एक दशक पूरा गरेर अगाडि बढ्ने क्रममा स्यामन शिखर सम्मेलनमा आइपुगेको ब्रिक्सले थुप्रै प्रगति हासिल गरेको छ । ब्रिक्सकै इतिहासमा स्यामन शिखर सम्मेलन सबभन्दा ठूलो मञ्च बनेको छ, जहाँ व्यापार तथा लगानी, बैङ्किङ सहयोग तथा विकास, आर्थिक अन्तसञ्जाल निर्माण लगायतका विषयमा गहन छलफल भयो । स्यामन सम्मेलनमा ब्रिक्स मुलुक बाहेक विभिन्न विकासोन्मुख मुलुकका आमन्त्रित नेता, संयुक्त राष्ट्र संघ, नयाँ विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संगठनका पदाधिकारी आदि गरी २५ मुलुकका एक हजार दुई सयजना सहभागी थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै चीनका राष्ट्रपति सी चिनफिङले ब्रिक्स सहयोगी प्रणाली गहन रूपमा विकास भएको दस वर्षमा चीनको सुधारलाई पनि गहन बनाइएको बताएका छन् । विगत दस वर्षमा चीनको आर्थिक मात्रा २३९ प्रतिशत बढेर विश्वको दोस्रो आर्थिक समूह बनेको तथ्यले चीनको सुधारलाई गहन बनाइएको पुष्टि भएको र त्यसलाई अझै गहन बनाइने उनले औँल्याए । चीनले आयोजित हरेक अन्तर्राष्ट्रिय सभा, सम्मेलनमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को अवधारणालाई प्रवेश गराउने गर्छ । ब्रिक्स सम्मेलनमा उठाइएका सबैजसो एजेन्डाहरू बीआरआईकै सेरोफेरोमा छन् । पछिल्लो समय चीनले विदेशमा गर्ने लगानी, व्यापार, वित्तीय सहयोग, प्रविधि हस्तान्तरण, आपसी आदान–प्रदान, उद्योग सञ्चालन लगायतका सबै क्षेत्रमा बीआरआईमार्फत जाने एकद्वार नीति अवलम्बन गरेको छ । तसर्थ स्यामन सम्मेलनमा बीआरआईको नाम नलिई चीनले ती एजेन्डाहरू सदस्य मुलुकसामु पेस गरेको छ । यसो हुनुको मुख्य कारण भारत अझसम्म पनि बीआरआईमा प्रवेश नगर्नु हो । स्यामन सम्मेलनका एजेन्डाले भारतलाई अन्ततोगत्वा बीआरआईमा आउन प्रेरित गर्ने कतिपयको बुझाइ छ । यस अघि चीनको अग्रसरतामा खुलेको र बीआरआईका उद्देश्यलाई पूरा गर्ने साधन बनेको एसियाली पूर्वाधार लगानी बैंकमा भारत संस्थापक सदस्य बनिसकेको छ ।
विश्वमा चीनको बढ्दो आर्थिक प्रभाव र चिनियाँ नरम शक्तिको फैलावट पश्चिमा जगत विशेषगरी अमेरिकाको टाउको दुखाइ बनेको छ । चीनले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमार्फत आफूलाई अझै सशक्त रूपमा उभ्याउन थालेको छ । बुद्धिजीवीहरूले चीनका यस्ता गतिविधिलाई आर्थिक कूटनीतिको नाम दिने गरेका छन् । पछिल्लो समय चीनले एसिया प्यासिफिक इकोनमिक कोअपरेसन (एपेक), जी–२०, साङहाई कोअपरेसन, बोआवो, ब्रिक्सजस्ता मञ्चलाई प्रयोग गर्दै अर्थ–कूटनीतिमार्फत आफ्नो ‘सफ्ट पावर’ विस्तार गर्दैछ ।

चीनको विश्वमा फैलँदो आर्थिक विकास अमेरिकाका लागि रुचिकर छैन । तसर्थ पछिल्लो समय चीन र अमेरिकाबीच थुप्रै विवादहरू बढेका छन् । अमेरिकाले फिलिपिन्सलाई उक्साएर विवाद सिर्जना गरेको दक्षिण चीन सागरको विवादलाई चीन र फिलिपिन्सबीच सम्पन्न आर्थिक कूटनीतिले समाधान गरेको छ । चीन र फिलिपिन्सबीच सम्बन्ध सुध्रिएपछि अमेरिका चीनसँग थप चिढिएको छ । अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि जलवायु परिवर्तनमा पेरिस सम्मेलनले पारित गरेको घोषणाबाट अमेरिका अलग बनेको छ । पेरिस घोषणा विशेषगरी चीनको पहलबाट आएको थियो । अमेरिकाले दक्षिण कोरियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली ‘थाड’ स्थापना गरेको छ । थाड आफू लक्षित रहेको भन्दै चीनले बारम्बार विरोध गर्दै त्यसलाई हटाउन दबाब दिँदै आएको छ । अमेरिकाले भने उत्तर कोरियालाई चीनले संरक्षण गरेको आरोप लगाउँदै आएको छ । अमेरिका विश्वमा सैनिक शक्ति र हतियारबाट आफ्नो हैकम कायम राख्न चाहन्छ भने चीन आर्थिक गतिविधिबाट विश्वमा प्रभाव फैलाउँदैछ ।

भारत र चीनबीच दोक्लाम क्षेत्रमा देखिएको तनावपूर्ण विवाद दुई महिनापछि साम्य भएको छ । उक्त विवाद यही ब्रिक्स सम्मेलनले सुल्झाएको देखिन्छ । ब्रिक्सका मुख्य हिस्सेदार चीन र भारत दुवैलाई यो सम्मेलन अगाडि दोक्लाम द्वन्द्वलाई सुरक्षित अवतरण गर्न अति आवश्यक थियो । विश्वको ध्यान तानिरहेको दोक्लाम विषय तत्कालका लागि समाधान भएपछि विश्वले चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हात मिलाएको दृश्य निकै रुचिपूर्वक हेरेको छ । विवाद कायम रहेको अवस्थामा ब्रिक्स सम्मेलन भएको भए यसका एजेन्डालाई दुई देशको विवादको विषयले ओझेलमा पार्ने थियो ।
चिनियाँ आर्थिक नीतिलाई विश्वका अधिकांश विकासोन्मुख मुलुकहरूले रुचाएका छन् । विकसित मुलुकहरू पनि बाध्य भएर चिनियाँ आर्थिक गतिविधिमा समाहित हुनथालेका छन् । चीनमा थुप्रिएको पुँजी र विकसित प्रविधि अब विकासोन्मुख मुलुकका लागिमात्र नभई विकसित मुलुकलाई पनि अपरिहार्य बन्न थालेको छ । चिनियाँ उत्पादनले विश्व बजार पिटेको छ । अमेरिका र भारतले चीनसँग जतिसुकै मतभेद राखे पनि आयात–निर्यातमा चीनसँग सहकार्य गर्नुपर्ने बाध्यता छ । चीनले पनि आफ्ना उत्पादन र लगानीलाई ठूलो बजार रहेको भारततिर केन्द्रित गर्न थालेको छ । यस्तो अवस्थामा ब्रिक्सको विकास र प्रगति नै चीनको आर्थिक प्रभावलाई विश्वमा फैलाउने एक महत्त्वपूर्ण साधन बनेको छ ।
नवौँ ब्रिक्स सम्मेलनले ५० करोड चिनियाँ युआन बराबर ब्रिक्स आर्थिक तथा प्राविधिक सहयोग आदान–प्रदान योजना खडा गरेको छ । साथै ब्रिक्सले स्थापना गरेको नयाँ विकास बैंकलाई ४० लाख अमेरिकी डलर बराबर तयारी कोष उपलब्ध गराउने पनि निर्णय गरेको छ । यसो गर्नुको उद्देश्य ब्रिक्समा चीनको वर्चस्व स्थापित गराएर विश्वमा चिनियाँ दबाब बढाउने काम गर्न खोजिएको हो भनी शिखर सम्मेलनको समापनपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा केही पत्रकारहरूले प्रश्न गरेका छन् । यसको जवाफमा ब्रिक्स मुलुक बीचको सहयोगले साझा हितको संरक्षण गरेर साझा अपेक्षालाई प्रतिविम्बित गरिएकाले व्यापक विकासोन्मुख मुलुकको साझा आवाजलाई उठाइएको चीनले बताएको छ । नवस्थापित बजार मुलुक तथा विकासोन्मुख मुलुकको प्रतिनिधित्व गरेका ब्रिक्स मुलुकका पाँच सदस्यले विश्वको आर्थिक सञ्चालन तथा सुधारलाई अघि बढाउँदा शृङ्खलाबद्ध उपलब्धि हासिल भएका छन् र ती कदमहरू विश्वको शान्ति र स्थिरता, विश्व अर्थतन्त्रको स्थिर विकास गर्नका लागि हितकर भएको प्रमाणित भएको चीनले स्पष्ट पारेको छ ।
आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली सेवा, बेइजिङमा कार्यरत छन् ।
[email protected]

विविधा

कल डिटेल किन आवश्यक ?

- डा. गणेश रेग्मी

 

अनुसन्धानमा आवश्यक
जसरी अहिले मोबाइल फोन मानिसहरूको जीवनको एक अंग बनेको छ, त्यही अनुपातमा अपराध अनुसन्धानमा कल डिटेल अध्ययन गर्नु पनि अनिवार्य भएको छ । शंकित व्यक्तिका साथी/संगति, प्रयोग भएका अन्य फोन, गरिएका कुराकानी, आदान–प्रदान भएका सन्देश, लोकेसन (अवस्थिति), समय सम्बन्धी विवरण आदिको जानकारीले अपराध अनुसन्धानलाई ठूलो टेवा पुग्छ । हराएको, अपहरणमा परेको वा दुर्घटना भएको मानिसको लोकेसन यसबाट सहजै पत्ता लाग्छ भने हत्या भएको र शंकित मानिसको कोसँंग के कस्तो सम्बन्ध भएको समेत यसैबाट खुल्छ । अहिले अपराध अनुसन्धानको पहिलो कदम नै कल डिटेलबाट सुरु हुन्छ । हरेक देशमा कल डिटेललाई अनुसन्धानको पहिलो आवश्यकता मानिन्छ ।

अन्य मुलुकको व्यवस्था
मित्रराष्ट्र भारतमा जिल्ला प्रहरी प्रमुखलाई आफ्नै कार्यालयबाट कल डिटेल निकाल्न मिल्नेगरी ‘अनलिमिटेड एक्सेस’ प्राप्त छ । बेलायतमा मोबाइल कम्पनीहरूले फोनको कल डिटेलको रेकर्ड कम्तीमा एक वर्षसम्मको सुरक्षित राख्नुपर्ने र प्रहरीले माग गरेको बेला विना वारेन्ट तत्काल उपलव्ध गराउनुपर्ने व्यवस्था छ । अमेरिकामा शंकित मानिसको फोन निगरानी र कल डिटेलको अनुसन्धान गर्नु ‘व्यक्तिगत गोपनीयताको हक’ होइन, अनुसन्धानको विशेषाधिकार हो भनी सर्वोच्च अदालतले नै फैसला गरेको छ( स्मिथ विरुद्ध मेरिल्यान्ड मुद्दा) । इन्टरपोलले सदस्य राष्ट्रको अनुरोधमा शंकित व्यक्तिको फोन निगरानी (सर्भिलेन्स) गरी अनुसन्धानमा सहयोग गर्छ । संसारका हरेक देशमा अनुसन्धानका लागि प्रहरीले कल डिटेल तत्कालै र सहजै पाउँछन् । धेरै देशका प्रहरीका विशेष निकायलाई दूरसञ्चारको फोन आदान–प्रदान विवरण हेर्ने र प्रिन्ट झिक्न मिल्ने सोझो पहुँच छ । अदालतको अनुमतिविना प्रहरीले सहजै कल डिटेल लिन पाउनु पछाडिको एउटा महत्त्वपूर्ण आधार के हो भने यदि कसैको कल डिटेल दुरुपयोग वा अपचलन भयो भने त्यस्तो बदमासी गर्ने प्रहरीलाई अत्यन्त कडा कारबाही हुन्छ । यो कार्य अख्तियारको दुरुपयोग पनि भएकाले अख्तियारबाटै पनि कारबाही गरिन्छ ।

तत्काल प्राप्त नहुँदाको दुष्परिणाम
गत फागुन ४ गते न्युरोडका व्यापारी श्यामसुन्दर अग्रवालको अपहरण भयो । भोलिपल्ट साँझमात्र कल डिटेल पाएकाले सहजै समातिने अभियुक्त भागे । त्यतिमात्र नभई सहकर्मी एक युवतीलाई मारेर गाड्ने समय मिल्यो । अनुसन्धानकर्ता भन्छन्, तत्काल कल डिटेल लिन सकिएको भए ती युवती मारिने सम्भावना थिएन । धादिङमा एक प्रहरी मारिएको घटनाकै अभियुक्त समात्न कल डिटेल प्राप्त नभएकाले नै ढिलो भयो । भर्खरै बरामद ८८ किलो सुनको अनुसन्धानमा तत्कालै कल डिटेल लिन सकेको भए सुन धनीलाई समात्ने संभावना थियो । यी पत्रिकामा आएका घटना हुन् । यस्ता सयौं गम्भीर हानि भइरहेको हुनुपर्छ । मानिसको जीवनमा कुनै पनि सम्झौता हुनसक्तैन, तर कल डिटेल समयमा नपाउनुले यसैमा प्रहार हुनपुग्छ । हत्या, अपहरण, डकैतीजस्ता गम्भीर अपराधमा अनुसन्धान र सुरक्षाका लागि एक–एक पल अमूल्य हुन्छन् । अभियुक्त भाग्न पाउनु हुँदैन र प्रमाण लोप हुनुहुँदैन । यस्ता कारणले कल डिटेलको अभावले अनुसन्धान प्रभावित भएको छ ।

अदालतको सन्दर्भ

अदालतको आदेशको विकल्प छैन, ‘एकेडेमिक एनालिसिस’ बाहेक । कसैको घर खानतलासी गर्न कानुनी प्रक्रिया पुर्‍याए हुन्छ, अदालतको आदेश लिनु पर्दैन । यसैगरी कल डिटेल लिँदा पनि निश्चित प्रक्रिया पुर्‍याएर लिन पाउनुपर्ने हो । लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा १० (क) अनुसार फोनको कुराकानी टेप वा सेन्सर गर्न सकिन्छ । दफा ११ (घ) अनुसार कल रेकर्ड प्रमाणको रूपमा पेस गर्न सकिन्छ । दूरसञ्चार ऐन, २०५३ दफा १९ अनुसार कल डिटेल र रेकर्ड लिने सरकारको विशेषाधिकार हो । सङ्गठित अपराध निवारण ऐन, २०७०,
दफा १८ अनुसार टेलिफोन वा सञ्चारको विवरण लिन मिल्छ । निर्णय हुँदा यी कानुनी व्यवस्था र नेपाल प्रहरीले २०७१ सालमा नै ल्याएको ‘कल डिटेल रेकर्ड एसओपी’लाई ध्यान दिइयो, दिइएन ? पूर्व न्यायाधीश रणबहादुर बमको मुद्दामा करिब ५ लाख एसएमएस र १ लाख कल डिटेल हेरिएको चर्चा थियो, उल्लिखित कानुनी आधारबाट । तर कानुन नबनुन्जेलसम्मका लागि ‘अदालतबाट अनुमति लिने व्यवस्था गर्नु’ भन्ने आदेशले यी कुराका अर्थ रहेनन् । कल डिटेल लिइसकेपछि पनि अनुमति लिन सकिने व्यवस्था नहुनुले अनुसन्धानमा समयको महत्त्व कम आंँकेको देखियो । संविधानको धारा २० अनुसार न्याय सम्बन्धी हक सबै नागरिकलाई छ, तर तत्काल फोन कल डिटेल नपाउनु यो हकबाट बञ्चित गर्नु सरह हो । यसबाट तत्काल अनुसन्धान थाल्न र अभियुक्त पक्राउ गर्न गम्भीर असर पर्छ । हल्ला सुनियो, कुनै एकजना विवादित व्यक्तिले सम्मानित व्यक्तिहरूको कल डिटेलसमेत हेरेकाले यो निर्णय भयो । यदि यसो हो भने त्यस्ता गलत व्यक्तिका गलत कुरामा सम्मानित अदालतकै न्यायाधीशकै अध्यक्षतामा अनुसन्धान समिति गठन गरी दोषीलाई कारबाही चलाउन सकिन्थ्यो । त्यसको बदलामा अनुसन्धानको अनिवार्य सर्तमा बन्देज गर्नु हुँदैन ।

अनुसन्धानकर्मीको चासो के र किन ?
लोकतन्त्र प्राप्तिपश्चात राज्यका अन्य निकायहरू बलियो हँुदैछन्, त्यसको उल्टो प्रहरी कमजोर । न्याय क्षेत्रको कुरा गर्दा, तत्कालीन पुनरावेदन अदालतसम्म मात्र प्राप्त असाधारण अधिकार क्षेत्र अहिले जिल्ला अदालतलाई दिइयो । प्रशासनतर्फ, प्रमुख जिल्ला अधिकारीले आफ्नै समकक्षी जिल्ला प्रहरी प्रमुखको कार्यसम्पादन नम्बर दिने प्रचलन सुरु गरियो । प्रहरीको सम्बन्धमा भने उल्टो भयो । भर्खरै जारी ‘फौजदारी अपराध संहिता’मा अनुसन्धानकर्ताको सानो कसुरमा विभागीय कारबाही नगरी वर्षौं जेल हाल्ने र प्रस्तावित ‘यातना विरुद्धको ऐन’मा पनि सानो कसुरमा प्रहरीलाई ५ वर्षसम्म जेल हाल्ने व्यवस्था प्रस्ताव भएको छ । गल्ती गर्ने प्रहरीलाई कडा कारबाही गर्न ल्याइएकोमा अन्यथा भन्न मिलेन, तर अनुसन्धानको पहिलो आवश्यकता ‘फोन कल डिटेल’ लिने कार्यलाई प्रहरीकै सांगठनिक नियन्त्रण र सरकारको सुपरीवेक्षणमा नराखी अदालतको अनुमति चाहिने किन ? अनुसन्धानकर्ताको हात बाँधेर के न्याय व्यवस्था सफल होला ? अनुसन्धान राम्रो हुन नसके नेपाल अपराधीको रमणीय स्थान नहोला र ? तथापि सम्मानित अदालतको निर्णय शिरोपर छ ।

अब गर्ने के ?
अदालतबाट आदेश भइसकेकोले अनुसन्धान कार्यमा सहजतापूर्वक कल डिटेल्स लिन सक्नेगरी ऐन बनाउनुको कुनै विकल्प रहेन । अब बन्ने ऐनमा भारतमा जस्तो ‘फोन कल डिटेल’ प्रत्येक जिल्लाको प्रहरी प्रमुखले चाहेका बखत हेर्न र झिक्न मिल्नेगरी बनाउनुको विकल्प छैन । यो समयको माग हो । अर्कोतर्फ, यसमा गोप्यता भंग गर्ने वा सूचना चुहाउने वा अन्य अपचलनमा भने कडा नियन्त्रण र कारबाही हुन जरुरी छ । यसका लागि कुनै बाहिरी ‘ओभरसाइट मेकानिजम’ पनि बनाउन सकिन्छ । ऐन नबनुन्जेलसम्मका लागि अदालतबाट अनुमति लिनुपर्ने भन्ने हालको आदेश विरुद्धमा तत्काल कानुन बमोजिम पुनरावलोकन गर्न जरुरी छ, ताकि अदालतले पनि आफ्नो आदेशमा पुनर्विचार गर्ने सकोस् । अहिले भाइबर, स्काइप, म्यासेञ्जर, ह्वाट्स एपजस्ता विद्युतीय माध्यमबाट पनि सहजै वार्तालाप हुने भएकाले अब अनुसन्धानको लागि यस्ता माध्यमहरूको पनि रेकर्ड निकाल्न पाउने हुनुपर्छ । यसका लागि सरकारले
केन्द्रीय स्तरमा अलग्गै व्यवस्था गर्न जरुरी छ । प्रहरी र सरकारी वकिल सम्मेलन, २०७३ घोषणापत्रको बुँदा नं. १२ को माग पनि यही हो ।
यसैगरी अदालत र प्रशासनमा विशेष सुधार भइसके पश्चात अब सुधारको पालो प्रहरी र अनुसन्धानतर्फ हो । प्रस्तावित ऐन बनाउँदा यातायात व्यवस्था विभाग, अध्यागमन कार्यालय, मालपोत कार्यालय लगायतका अभिलेखमा अनुसन्धानको लागि प्रहरीलाई एक्सेस दिन जरुरी छ, गोप्यताको पूर्ण ग्यारेन्टी हुने कडा नियन्त्रण कारबाहीसहित । अन्यथा मुलुकको संघीय स्वरूपमा नै आघात पर्न सक्छ ।

फौजदारी कसुरमा तत्काल अनुसन्धान हुनु फौजदारी न्याय सम्बन्धी संवैधानिक हक हो । प्रहरीलाई स्वच्छन्द रूपमा अनुसन्धान गर्न अधिकार र अवसर दिनुपर्छ । यसमा अदालतले पनि रोक्न हुँदैन । तर कल डिटेलजस्ता अनुसन्धानमा हासिल गरेका सूचना दुरुपयोग गर्ने व्यक्तिलाई ठाउँको ठाउँ कडा कारबाही हुनैपर्छ । यस लेखमा उजागर गरिएका कुरा नगर्ने तर कुनै अपराध पीडितलाई भेट्न जांँदा ‘प्रहरीले पत्ता लगाउँछ, ढुक्क हुनुहोस्’ भनी सान्त्वना भने दिने जिम्मेवार शब्दहरू केवल गोहीका आँसु हुनेछन् ।
प्रहरी उपरीक्षक रेग्मीले ‘कानुनको शासन र प्रहरी व्यवस्थाका चुनौती’मा विद्यावारिधि गरेका हुन् ।

Page 10
देश

८ बालबालिकाको उद्धार

बाँके (कास)– सप्तरीका विनोद यादव पत्नी सोनादेवी र तीन छोरोछोरी भारतको चण्डीगढमा छाडेर वैदेशिक रोजगारीमा गए । तर, सोनादेवीको आकस्मात मृत्यु भएपछि छोराछोरीको बिचल्ली भयो । उनीहरूलाई भारतस्थित नेपाली दूतावास, माइती इन्डिया र विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरिएको छ ।

आमाको मृत्युपछि ११ वर्षीय ओम यादव, १० वर्षीय बिग यादव र ४ वर्षीया काजलले निकै सास्ती खेपेको उद्धारकर्ताहरूले जनाएका छन् । माइती इन्डियाले उनीहरूसँगै भारतका विभिन्न स्थानमा अलपत्र ८ नेपाली बालबालिकालाई उद्धार गरी नेपाल पठाएको हो । उनीहरूलाई बिहीबार नेपालगन्ज ल्याइएको छ ।


उद्धार गरिएका अन्यमा सर्लाहीका १३ वर्षीय अमिर तामाङ, १४ वर्षीय सुरेश रम्तेल, रोल्पाका १४ वर्षीय ऐते विक र १२ वर्षीय होमे विक छन् । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले भारतको दिल्ली, उडिसा, चन्डीगढलगायत स्थानबाट उद्धार गरिएका यी बालबालिकालाई अभिभावकको जिम्मा लगाउने बताए । तर, आमाको मृत्यु भइसकेका र बुबा वैदेशिक रोजगारीमा रहेका तीन बालबालिकाको हकमा समस्या देखिएको छ ।

बालिका अपहरणमुक्त

धादिङको थाक्रे गाउँपालिकाबाट प्रहरीले एक बालिकाको उद्धार गरेको छ । पोखराको चिप्लेढुंगाबाट अपहरणमा परेकी दुई वर्षीया रोशनी भुजेललाई बुधबार राति प्रहरीले सकुशल उद्धार गरेको हो । बालिका बजारमा घुमिरहेको अवस्थामा स्थानीयलाई शंका लागेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले धुनीबेंसी नगरपालिका धार्केस्थित चालिसे घर भएका २७ वर्षीय सन्तोष सापकोटालाई पक्राउ गरेको छ । सापकोटाले बालिकालाई गत २० गते पोखराबाट धादिङ ल्याएको खुलेको छ । बालिकाकी आमा चिप्लेढुंगामा कवाडी संकलन गर्छिन् । सापकोटाले दिउँसो रेखदेख गरिदिने बहानामा अपहरण गरी ल्याइएको स्वीकारेको प्रहरीले जनायो ।

देश

मुग्लिन सडक रातमा पनि

भरतपुर (कास)– चाडपर्व लाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकमा राती पनि यातायात सञ्चालन हुने भएको छ । पहिरो जोखिमले राति बन्द गरिएको सडक भदौ २८ बाट चौबीसै घण्टा खुला हुने भएको हो । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाबीच बिहीबार बसेको बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन राति सवारी चलाउन दिने निर्णय गरिएको हो ।
प्रजिअ नारायणप्रसाद भट्टले वर्षा रोकिएको र चाडपर्व नजिकिएकाले यस्तो निर्णय गरिएको बताए । गत असार २५ बाट उक्त सडक खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो । चाप हुने समयमा मालबाहक साधनलाई रोकेर यात्रुबाहकलाई प्राथमिकताका साथ सडक पार गराउने निर्णय पनि भएको छ । बैठकले आवागमनमा असर नपर्ने गरी काम निरन्तर राख्ने निर्णय लिएको छ ।

 

देश

झडपमा ११ घाइते

छोटकरी

बुटवल (कास)– रोहिणी गाउँपालिका–६ विशुनपुरामा छिमेकी परिवारबीच झडप हुँदा ११ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ । घाइतेको टाउकोमा चोट लागेको छ । उनीहरूको युनिभर्सल मेडिकल कलेज भैरहवा र भीम अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न आरोपमा प्रहरीले मनौवर अलि शेख र उनका छोरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बुधबार साँझ मनौवर अलि शेख र छोटु यादव परिवारका बीचमा झडप भएको हो । छोटु यादवकी पत्नीले मनौवरका छोरा उमरको प्रेम प्रसंगबारे युवतीको घर र छिमेकमा बताइदिएकी थिइन् । प्रेमबारे गाउँमा बताएको भन्दै झगडा सुरु भएको थियो । झगडा बढ्दै जाँदा शेष परिवारले भालासहित आक्रमण गरेको थियो । छिमेकी छुट्याउन पुगेका थिए । छुट्याउन गएका छिमेकीसमेत घाइते छन् । प्रहरी चौकी पिप्रहवाका प्रमुख असई राजुबाबु बाँनियाका अनुसार झडपमा शेष परिवारका ३ र यादव परिवारका ८ जना घाइते भएका छन् ।

 

देश

शिक्षकसहित दुई बेपत्ता

छोटकरी

नवलपरासी (कास)– विद्यालय गएका कावासोतीका एक शिक्षक एक सातादेखि बेपत्ता छन् । खोजीका लागि आफन्तले प्रशासनमा निवेदन दिएका छन् । कावासोतीका २६ वर्षीय रामप्रसाद चापागाईं बेपत्ता भएका हुन् । उनी विश्वज्योति आवासीय विद्यालयमा पढाउँथे । शुक्रबार विद्यालय बिदा भएदेखि उनको मोबाइल बन्द छ । छोरा आउने आशामा ६५ वर्षीय बुबा दुर्गाादत्त चापागार्इं बाटो हेरेर बसिरहेका छन् । खोजबिन गर्दा फेला नपारेपछि प्रहरीमा उजुरी दिएको उनले बताए । यस्तै बर्दघाट नगरपालिका–१६ केराघारीकी १२ वर्षीया अस्मिता गुरुङ पनि मंगलबारदेखि परिवारको सम्पर्कमा आएकी छैनन् । गंगा मावि गंगाबस्तीबाट साथीसँग पौडी खेल्न गएकोमा दुई जना घर फर्किए पनि ‘दाइको ससुराली सर्दी जान्छु’ भनेर हिँडेकी गुरुङ सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

 

देश

चिकित्सकलाई फेलोसिप

छोटकरी

धरान (कास)– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले ‘एलन ड्रास अन्तर्राष्ट्रिय फेलोसिप’ अवार्ड पाएका छन् । सन् २०१७ का लागि बालबालिकामा हुने मधुमेहमाथि थप अनुसन्धानका लागि उनले ५ हजार डलर राशिको अवार्ड पाएका हुन् । उनलाई ‘नेसनल सोसाइटी अफ प्यासिफिक एन्ड एडोलोसेन्ट डाइबिटिज’ (आईएसपीएडी) ले फेलोसिप दिएको हो । यस्तो अवार्ड नेपालमै पहिलो पटक उनले पाएका हुन् । ‘बालबालिकामा हुने मधुमेह माथि थप अनुसन्धान गर्ने अवसर प्राप्त भएको छ,’ डा. सिंहले भने, ‘नेपाली बालबालिकाको हितमा स्वास्थ्योपचार गर्न थप हौसला बढेको छ ।’

 

 

देश

‘सुस्ता सुरक्षा प्राथमिकता’

छोटकरी

नवलपरासी (कास)– भारतसँग समिा विवाद रहेको सुस्ताको सुरक्षामा सरकार संवेदनशील रहेको सिँचाइमन्त्री सञ्जयकुमार गौतमले बताएका छन् । सुस्तामा बाढीले पुर्‍याएको क्षति अवलोकनका लागि आएका उनले नारायणी नदीले गरेको कटान नियन्त्रणका लागि तत्काल रकम विनियोजन गर्ने जनाए ।
सीमा विवाद टुंग्याउन भारत सरकारसँग छलफल गरिने उनको भनाइ छ । सुस्तामा पुल निमार्ण, स्वास्थ्यचौकी, सरकारी कार्यालय व्यवस्थापनको विषय सरकारले प्राथामिकतामा राखेको उनले बताए । ‘तटबन्ध निमार्णका लागि यसै वर्ष पर्याप्त बजेट विनियोजन हुनेछ,’ उनले भने ।

Page 11
स्थानीय निर्वाचन

पुरुष प्रचारमा, महिला मेलापात

- दीपेन्द्र बडुवाल,अमन कोइराला

सर्लाही– प्रदेश २ मा हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै यहाँका घरघरमा चुनाव लागेको छ । उम्मेदवार र अगुवा कार्यकर्ता जित सुनिश्चित गर्न घरदैलोमा व्यस्त छन् । मतदाता आकर्षित गर्ने होड सुरु भएको छ । यस्ता कार्यक्रममा महिलाको उपस्थिति भने शून्यप्राय देखिन्छ । ‘यहाँका महिला प्रचारमा हिँड्दैनन्,’ टाउकामा घाँस बोकेर घर फर्किरहेकी हरिपुर २ पिडारीकी नगिनादेवी चौधरीले बिहीबार भनिन्, ‘श्रीमान् हिजो (बुधबार) जानुभो, हामी त कहिल्यै जाँदैनौं ।’

उनका पति बुधबार उम्मेदवारी मनोनयन र्‍यालीमा सहभागी बनेका थिए । परिवारका पुरुष सदस्य आफूले समर्थन गरेको दलका लागि भोट माग्न जाने गर्छन् । महिलालाई भने चुलोचौको र मेलापातमै फुर्सद छैन । उनीहरूलाई त्यस्ता कार्यक्रममा सहभागी गराइँदैन । ‘कसैले जाऔं भने पो जानु,’ हरिपुर ४ की बच्चियादेवी रायले भनिन्, ‘हाम्रो खोजी नै गरिंदैन ।’ पुरुष भोट माग्न जाँदा महिलालाई कामको बोझ थपिने गरेको छ ।
‘अहिले उम्मेदवार बनेका महिला मात्रै कार्यक्रममा जान्छन्,’ स्थानीय प्रभु रायले भनिन्, ‘हाम्रो काम बालबच्चा, वस्तुभाउ हेर्न हो ।’ बिहीबार जिल्लामा निर्वाचन प्रचारका कार्यक्रममा पुरुष मात्र सहभागी थिए । ‘हामी प्रचारमा जाँदैनौं,’ घाँस काटेर फर्किरहेकी मलंगवा १२ की राजवली मण्डलले भनिन्, ‘घरमूलीले जे चिह्नमा भन्यो, त्यसमै भोट हाल्ने हो ।’ परम्परादेखि यहाँका जिल्लामा राजनीतिलगायत सार्वजनिक कार्यक्रममा महिलाको सहभागिता न्यून हुने गरेको हरिपुर ४ का ५८ वर्षीय योगेन्द्र रायले बताए । ‘मधेसतिर जन्नी जात (महिला) ले राजनीति गर्दैन,’ उनले भने, ‘त्यसैले प्रचारमा पनि जाँदैनन् ।’ उनका अनुसार महिलालाई घरधन्दाको
जिम्मा हुन्छ । उनीहरू बिहानैदेखि चुलोचौको र मेलापात गर्छन् । ‘खुलेर बोल्न पनि आउँदैन,’ रायले भने, ‘घुम्टो ओढेर के प्रचार गर्नु ?’ अहिले स्थानीय तहमा महिला अनिवार्य गरिएको छ । ‘उपल्ला पदमा धनी उम्मेदवार बनेका छन्,’ उनले भने, ‘वडासदस्य मात्र गरिबका भागमा परेको छ ।’ उनका अनुसार वडामा दलित महिला सदस्य अनिवार्य गरिएपछि यहाँका बस्तीमा उम्मेदवार तानातान भएको छ । ‘एउटै घरका जेठानी–देउरानी उम्मेदवार बनेका छन्,’ उनले भने, ‘तर राजनीति बुझेका छैनन्।’

सर्लाही क्याम्पसकी प्राध्यापक प्रतिमा यादवले यहाँको संस्कार र परम्पराका कारण महिला घरको चारघेराभित्र सीमित हुने गरेको बताइन् । ‘यहाँ मजस्ता रोजगारी गर्नेलाई त चुलोचौकोले छोडैन,’ उनले भनिन, ‘सामान्य महिलाले कसरी अधिकार प्रयोग गरून् ।’ उनका अनुसार झन् चुनावका बेला घरको सम्पूर्ण कामको जिम्मा महिलालाई हुन्छ । ‘पुरुषले घरको काम गर्दैनन्,’ उनले भनिन्, ‘त्यसैले चाहेर पनि महिला खुल्न सक्दैनन् ।’ नयाँ व्यवस्थाअनुसार उम्मेदवार बनेका महिला र तिनका आफन्त मात्रै चुनावी कार्यक्रममा सहभागी भइरहेको उनले बताइन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँका ११ नगरपालिका र ९ गाउँपालिकामध्ये अधिकांशमा महिलालाई उपमेयरमा सीमित गरिएको छ ।
यहाँको बरहथवा नगरपालिकामा एमालेले कल्पना कटवाललाई मेयरमा प्रत्याशी बनाएको छ । ‘संविधानले गरेको बाध्यात्मक अवस्थाले उपमेयरमा भए पनि महिलाले अवसर पाएका छन्,’ यादवले भनिन्, ‘यहाँको परम्परा र संस्कारले पनि महिला खुल्न सकेका छैनन् ।’

स्थानीय निर्वाचन

एउटै टिकट दुईलाई

रौतहट (कास)– चन्द्रपुर नगरपालिकाका एमाले युवा नेता बाबुराम दाहाल बुधबार मनोनयनका लागि निर्वाचन कार्यालय गए पनि उम्मेदवारी दर्ता गर्न पाएनन् । उनीभन्दा पहिल्यै एमालेकै उद्धव रेग्मीले मेयर पदमा मनोनयन दर्ता गराइसकेका थिए । दाहालले निर्वाचन अधिकृत कमल भण्डारीलाई प्रदेशले दिएको मेयरको टिकटसहितको कागजातसमेत पेस गरे । तर, आयोग केन्द्रीय कार्यालयबाट आएको पत्रमा ‘एमालेका तर्फबाट मेयर पदमा रेग्मीको उम्मेदवारी दर्ता गराउनु’ भन्ने उल्लेख थियो । जिल्ला अध्यक्ष कमल राय यादवले प्रदेश संयोजक सत्यनारायण मण्डलले टिकट वितरणमा लापरबाहीे गरेको आरोप लगाए । ‘जिल्ला कमिटीले सर्वसम्मत निर्णयबाट दाहालको नाम सिफारिस गरी पठाएकोमा दुई जनालाई टिकट दिनु नियमविपरीत हो,’ उनले भने, ‘यस्ता गल्तीले पार्टीभित्र विवाद पैदा भयो ।’

Page 12
शिक्षा

सस्तोमा उत्कृष्ट पढाइ

सामुदायिक सान
- मकर श्रेष्ठ

काठमाडौं– बेनीघाट रोराङ गाउँपालिकाका अभिषेक कँडेलले पुलचोक इन्जिनियरिङ कलेजमा यस वर्ष आर्किटेक्चरल इन्जिनियरिङ पढ्न छात्रवृत्ति पाए । कक्षा १२ मा विज्ञानमा ७८ प्रतिशत अंक ल्याएकाले उनले यो अवसर पाए । यो नतिजा कुनै निजी विद्यालय पढेर ल्याएका होइनन् ।

अभिषेकले आफ्नै बुबा प्रधानाध्यापक भएको त्रिपुरेश्वरको विश्वनिकेतन माविमा पढेका हुन् । उनले कक्षा ११ मा ८० प्रतिशत अंक ल्याएका थिए । १२ कक्षामा ७६ प्रतिशत ल्याए । सामुदायिक विद्यालयमै पढेर पुलचोक इन्जिनियरिङ कलेजको छात्रवृत्तिको पहिलो लिस्टमै उनले नाम निकाल्न सके ।

उक्त माविबाट गत वर्ष विज्ञान समूहमा १ सय २४ जनाले परीक्षा दिएकामा १ सय २२ जना अर्थात् ९८.३८ प्रतिशत विद्यार्थी पास भए । व्यवस्थापन समूहमा पनि ७० प्रतिशत विद्यार्थी पास भए । मानविकी र शिक्षामा ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भए ।
‘समग्रमा हाम्रोबाट ८० प्रतिशत विद्यार्थी पास भए,’ प्रधानाध्यापक हेरम्ब कँडेलले भने । राष्ट्रिय परीक्षा बोर्डका अनुसार, विश्वनिकेतन १२ कक्षामा गत वर्ष पनि ८२.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो ।

१२ कक्षासम्मको पढाइ मुलुकभरका २ हजार ७ सय ३९ वटा विद्यालयले सञ्चालन गरेका छन् । सबै विद्यालयलाई पछि पार्दै विश्वनिकेतनले यसपालि बाजी मारेको हो । त्यसबापत विद्यालयले २ लाख नगद, राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र प्राप्त गर्नेछ ।
विश्वनिकेतनको यो सफलतामा शिक्षकहरूको मेहनत उत्तिकै छ । विद्यालयमा शनिबारबाहेक सार्वजनिक बिदाको दिन पनि नियमित कक्षा हुन्छ । कक्षा ११ र १२ पढाउन सरकारले यहाँ तीन शिक्षकका लागि मात्रै तलब दिने गरेको छ । अन्य शिक्षकका लागि तलबभत्ता विश्वनिकेतनले विद्यार्थी शुल्कबाट व्यवस्थापन गर्दै आइरहेको छ ।

‘हामीकहाँ त्रिविका विज्ञ शिक्षकहरूले पढाउनुहुन्छ,’ प्रधानाध्यापक कँडेलले भने, ‘कमजोर विद्यार्थीलाई उपचारात्मक विधिबाट पढाउने गरेका छौं । पढाइ सुरु भएको एक महिनापछि कुन विद्यार्थीको पढाइ कस्तो छ, थाहा भइहाल्छ । दोस्रो महिनादेखि नै कमजोर विद्यार्थीका लागि एक्स्ट्रा कक्षा चलाउने गर्छौं ।’
एक्स्ट्रा कक्षा लिएबापत विद्यार्थीले मासिक न्यून शुल्क तिर्नुपर्ने हुन्छ । मासिक शुल्क पनि महँगो छैन । प्रधानाध्यापक कँडेलका अनुसार विज्ञान समूह अध्ययन गर्नेले भर्ना शुल्क १३ हजार र मासिक २ हजार तिरे पुग्छ । त्यस्तै व्यवस्थापनमा भर्ना ९ हजार र मासिक शुल्क ९ सय, मानविकी र शिक्षामा भर्ना शुल्क ८ हजार र मासिक शुल्क ७ सय रुपैयाँ मात्रै तिरे पुग्छ ।

विद्यालयले विद्यार्थीको सिकाइ स्तर सुधार गर्न अनेक उपाय अपनाएको छ । अन्तिम परीक्षाको एक साताअघिसम्म कक्षा चलाउने गरेको छ । ‘रिभिजन गराउँछौं, प्रश्न बैंक हल गराउँछौं,’ कँडेलले भने, ‘प्रविधिको भरपूर प्रयोग गर्ने गरेका छौं । स्मार्टबोर्डबाट पठनपाठन गराउँछौं । विषयगत प्रयोगशाला छ ।’
विद्यार्थी र शिक्षकको निगरानी गर्न कक्षाकोठामा सीसी क्यामरा जडान गरिएका छन् । कक्षाकोठामा के भइरहेको छ, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र अनुशासन इन्चार्जले मोबाइलबाटै हेर्न सकिने व्यवस्था छ । ‘म घरमै बसेर विद्यालयको गतिविधि नियाल्न सक्छु,’ कँडेलले भने ।
विद्यालयको नतिजा राम्रो हुनुमा उनी शिक्षकको ‘टिमवर्क’ लाई जस दिन्छन् । विद्यालयमा शिक्षक नभएकै कारण कुनै पनि कक्षा खाली हुँदैन । हरेक शिक्षकले
बिदा बस्नुअघि बिदा स्वीकृत गराउनुपर्ने हुन्छ । शिक्षक नभएमा कोर्ससँग सम्बन्धित ‘भिजुअल’ (नाटक, फिल्म) देखाउने गरेको उनले बताए ।
उनका अनुसार सैद्धान्तिकभन्दा पनि व्यावहारिक सिकाइमा जोड दिने गरिएको छ । व्यवस्थापनका विद्यार्थीलाई भर्ना अभियानमा मार्केटिङ गर्न पठाउने गरिएको छ । विद्यार्थीलाई अनुशासनमा कडाइ गरिएको छ । मोबाइल प्रतिबन्ध छ । छात्राले लिपिस्टिक र नङपालिस लगाउन पाउँदैनन् । छात्रले अनिवार्य रूपमा आर्मी कट कपाल काट्नैपर्ने हुन्छ । शिक्षकका छोराछोरी विद्यालयमै पढाएको कारण नतिजा राम्रो भएको उनले बताए । विद्यालयमा अध्ययन गराउने शिक्षकका छोराछोरीले यहीँ पढाएर एमबीबीएस, इन्जिनियरिङ र अन्य विषयमा छात्रवृत्ति पाएका छन् ।

प्रधानाध्यापक कँडेलकी छोरी अनुराधा कँडेलले पनि यहीँबाट १२ कक्षा सकेकी थिइन् । गतवर्ष बीएससी एमएलटी पहिलो वर्षमा उनले त्रिवि टप गरिन् । यही विद्यालयमा अध्ययन गरेका मनोहर थापाले गत वर्ष १२ कक्षामा व्यवस्थापनतर्फ ८७ प्रतिशत ल्याए । उनी मीनभवन क्याम्पसमा बीबीए पढिरहेका छन् ।
विश्वनिकेतनमा विद्यार्थीचाप निकै छ । कक्षा ११ मा ६ सय ४७ जना भर्ना भएका छन् । १२ कक्षामा ५ सय ९६ जना अध्ययनरत छन् । व्यवस्थापनमा सात सेक्सन र विज्ञानमा चार सेक्सन छुट्याएर पढाइरहेको प्रधानाध्यापक कँडेलले बताए । विज्ञानमा कमजोर विद्यार्थीलाई उपचारात्मक विधिबाट पढाएजस्तै व्यस्थापनमा पनि अर्थशास्त्र, अंग्रेजी र लेखा विषयमा एक्स्ट्रा कक्षा चलाउने गरिएको छ । मानविकी र शिक्षामा अंग्रेजीका विशेष कक्षा चलाउने गरेको
उनले बताए । विद्यालयमा १२ कक्षासम्म २ हजार ३ सय ३५ विद्यार्थी छन् । ९ कक्षासम्म मात्रै यस वर्ष २ सय ९४ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । तीमध्ये २ सय ४० जना निजी विद्यालय छाडेर आएका छन् ।

शिक्षा

जहाँ विद्यार्थीले नै पढाउँछन्

सामुदायिक सान
- अमृता अनमोल

बुटवल– धेरै विद्यालयका कक्षाकोठामा शिक्षकहरू पढाइरहेका हुन्छन् । रूपन्देहीमा यौटा विद्यालय अपवाद जस्तो छ, जहाँ विद्यार्थीले नै सहपाठीहरूलाई पढाउँछन् । शिक्षक सहयोगी मात्रै बन्छन् ।
बुटवलको कालिका माविले यस्तो अभ्यास गरेको हो । विद्यालयले हरेक कक्षामा ५ देखि ७ वटा समूह बनाएको छ । एक समूहमा ७ विद्यार्थी हुन्छन् । ती समूहले शिक्षकको सहयोगमा पालैपालो कक्षा चलाउँछन् । नजानेको कुरा अभ्यास गर्छन् । हरेक कुरालाई प्रयोगात्मक अभ्यासमा लैजान्छन् ।
‘विद्यार्थीकै अगुवाइमा विद्यार्थीबीचको प्रतिस्पर्धाबाट सिकाउँदा विद्यार्थी जागरुक हुने र सिकाइ दिगो तथा प्रभावकारी हुने रहेछ,’ विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले सुनाए, ‘यसैले शिक्षकको भूमिकालाई सहयोगीका रूपमा मात्रै ढालेका हौं ।’
विद्यालयले हरेक कक्षामा प्रोजेक्टर राखेको छ । स्मार्टबोर्डको प्रयोग हुन्छ । यसले कक्षाको सिकाइ अझ प्रभावरी बनेको प्रधानाध्यापक पाठकले बताए ।
परीक्षाफल, शैक्षिक गुणस्तर र भौतिक गुणस्तरका हिसाबले यो विद्यालय रूपन्देहीमै एक नम्बर पर्ने गरेको छ । मुलुकभरका नमुना विद्यालयमध्ये उत्कृष्ट दसभित्र परेको छ ।
आफ्नै सक्रियतामा कक्षा चल्ने भएपछि विद्यार्थीहरू पनि पढाइप्रति सजग छन् । अर्को दिन कक्षामा पढाउने विषय अघिल्लो दिनै घरमा तयारी गर्छन् । ‘आफ्नो समूहको प्रस्तुति कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पूर्वाभ्यास गरेर मात्रै कक्षामा जान्छौं,’ कक्षा ८ की आशा थापाले भनिन्, ‘यसले गर्दा पढाइप्रति रुचि जागेको छ ।’ उनले साथीहरूले नै साथीहरूलाई पढाउँदा कक्षामा रमाइलो हुने बताउँदै थपिन्, ‘साथीले पढाउँदा उसको गल्ती समात्न सकिन्छ कि भनेर ध्यान दिन्छौं । आफूले पढाउँदा साथीले गल्ती समात्छन् कि भनेर अझ बढी ध्यान दिन्छौं ।’
पठन संस्कृतिको विकास गर्न भन्दै विद्यार्थीलाई साताका दुई दिन विद्यालयको लाइब्रेरीमा लैजाने र पुस्तक पढाउने गरिन्छ । प्रत्येक कक्षामा विद्यार्थीद्वारा सञ्चालित १० सदन छन् । उनीहरूको अगुवाइमा प्रत्येक साता अतिरिक्त क्रियाकलाप हुन्छन् । सदनले नियमित अक्तिरिक्त क्रियाकलाप गर्छन् । खेलकुद, वक्तृत्वकला र हाजिरी जवाफमा यहाँका बालबालिकाले थुप्रै पुरस्कार जितेका छन् ।
शिक्षक युवराज कँडेलले भने, ‘विद्यार्थी अतिरिक्त क्रियाकलापप्रति पनि अति नै जागरुक छन् । विज्ञान प्रदर्शनीदेखि कला प्रदर्शनीसम्म सहभागी
भएका सबैजसोले प्रतिस्पर्धा जितेका छन् ।’
विद्यालयमा नर्सरी अर्थात् बालविकास केन्द्रदेखि ५ सम्म अंग्रेजीमा मात्रै पढाइ हुन्छ । त्यसमाथि एक/एक कक्षा नेपाली माध्यममा राखिएको छ । अन्य सबै कक्षा अंग्रेजी माध्यमबाट सञ्चालन भएका छन् । कम्प्युटर कक्षा अनिवार्य छ । कक्षा ९ देखि १२ सम्म एक सेक्सनमा कम्प्युटर पढाउने गरिएको छ । एसईई र कक्षा १२ मा यहाँका विद्यार्थीले उत्कृष्ट नम्बर ल्याए ।
कालिका मावि स्थापनाकालदेखि नै सफल विद्यालय भने थिएन । यसमा प्रधानाध्यापकको लगाव, शिक्षकहरूको मेहनत र व्यवस्थापन समितिको दक्षताले काम गरेको छ । २०१८ मा स्थापित उक्त विद्यालयले एसएलसीमा नतिजा राम्रो नल्याएपछि तीन पटकसम्म अनुदान रोकिएको थियो । २०६५ मा प्रधानाध्यापकमा घनश्याम पाठक आए । यसपछि विद्यालय सुधारिँदै गयो ।
‘उहाँले विद्यार्थी र शिक्षकलाई साथीभाइ जस्तै सम्बन्धमा राख्नुभयो । विद्यार्थीलाई नै आफ्ना कुरा राख्न सक्ने र समस्या समाधान गर्न सक्ने अधिकार दिनुभयो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले भने, ‘यसबाट शिक्षकलाई कर्तव्यनिष्ठ बनाउन र शैक्षिक गुणस्तर सुधार्न मद्दत मिलेको छ ।’
विद्यालयमा ४ हजार ३ सय ९७ विद्यार्थी छन् । निजी विद्यालय छोडेर यो विद्यालयमा आउनेहरू उल्लेख्य हुने गरेका छन् । यही शैक्षिक सत्र मात्रै २ हजार ६ सय जनाले प्रवेश परीक्षा दिए । विद्यालयले तीमध्येका ७ सय जनालाई मात्रै लियो । थप कक्षाकोठा व्यवस्थापन गर्न नसकेकाले छनोट गरेर भर्ना गरेको प्रधानाध्यापक पाठकले बताए । कक्षा ८ माथि भर्ना रोक्दा पनि यो वर्ष कक्षा १० मा ३ सय ६८ जना छन् । उनीहरूलाई ८ वटा सेक्सनमा राखेर पढाइएको छ । कक्षा ९ मा ३ सय ९० विद्यार्थी छन् । एकदेखि ५ कक्षासम्म विद्यार्थी संख्या ७ सय ७२ छ । कक्षा ६ देखि माथि विद्यार्थीको चाप बढी छ ।
‘टाढाका र निजी छोडेर आउने विद्यार्थीको चापले यस्तो भएको हो,’ प्रधानाध्यापक पाठकले भने, ‘अब माथिल्लो कक्षामा नयाँ भर्ना रोक्ने नीति ल्याएका छौं ।’
विद्यालयमा शिक्षक ८३ जना छन् । ४३ शिक्षक विद्यालयको स्रोतबाट राखिएको छ । शिक्षकबीच विभेद नहोस् भनेर विद्यालय स्रोतका शिक्षकलाई पनि सरकारीसरह नै सेवासुविधा दिइएको व्यवस्थापन समिति अध्यक्ष गलामीले बताए ।
विद्यालय हाता पूर्वपश्चिम राजमार्गसँग जोडिएकाले व्यावसायिक सटरहरू बनाइएका छन् । सटर भाडामा लगाएर विद्यालयले मासिक २ लाख ५० हजार आम्दानी गरेको छ । यसको आम्दानीले ४३ शिक्षकले तलब खाएका छन् । यसबाहेकको विद्यालयको स्रोत मासिक शुल्क हो । विद्यार्थीले कक्षा ६ देखि माथि ३ सय देखि ६०० सम्म मासिक शुल्क तिर्छन् । यसको आम्दानी पनि कम्प्युटर ल्याब सञ्चालन र शिक्षकको तलबमा गएको छ ।
पायकमा घर हुने शिक्षकका छोराछोरी यही विद्यालयमा पढ्छन् । शिक्षककै छोराछोरीले विद्यालयमा पढ्ने भएपछि उनीहरू थप जिम्मेवार बनेको गलामीले बताए ।
उक्त विद्यालयमा विपन्न तथा सामान्य जीवनस्तर भएका परिवारका बालबालिकाको बाहुल्य छ । पछिल्लो समय निजी विद्यालय छोडेर आउनेहरूका कारण सम्पन्न परिवारका बालबालिकासमेत विद्यालयमा थपिएका छन् । उनीहरूबीच हुन सक्ने विभेद रोक्न विद्यालयले पोसाक र आनीबानीमा एकरूपता अपनाएको छ ।
विपन्न परिवारका बालबालिकालाई सरकारीबाहेक पनि छात्रवृत्ति बाँडिएको छ । यसका लागि विद्यालयमा झन्डै तीन दर्जन अक्षयकोष स्थापना गरिएका छन् । तिनको ब्याजबाट एक सयभन्दा बढी विद्यार्थीले सहयोग पाएको अध्यक्ष गलामीले बताए ।

शिक्षा

केयूमा मिट एन्ड ग्रिट मेला

संक्षेप

ललितपुर (कास)– काठमाडौं विश्वविद्यालय (केयू) को स्कुल अफ आट्र्सले आइतबार ‘केयू स्कुल अफ आट्र्स मिट एन्ड ग्रिट’ मेला गर्ने भएको छ । मेलामा सेन्टर अफ आर्ट एन्ड डिजाइनले आफ्ना क्रियाकलाप प्रदर्शन गर्नुका साथै शिक्षक–विद्यार्थी लाइभ पोट्रेटका नमुना सत्रहरू हुनेछन् । स्कुलकै संगीत विभागले लाइभ म्युजिक प्रस्तुत गर्नेछ। मिडिया अध्ययनका विद्यार्थीले आफ्ना श्रव्यदृश्य क्रियाकलाप प्रदर्शन गर्नेछन् । मेलामा आउने विद्यार्थीको नि:शुल्क स्वास्थ्य जाँचसमेत हुनेछ । ‘पछिल्ला वर्षमा उल्लेख्य मात्रामा विद्यार्थीहरू पाए पनि यतिखेर हाम्रा कोर्सहरूबारे धेरै भन्दा धेरैले थाहा पाऊन् भन्ने उद्देश्यबाट अघि बढिराखेका छौं,’ बिहीबार पत्रकार सम्मेलनमा स्कुलका डिन डा. सागरराज शर्माले भने, ‘जसले गर्दा हामीले अझ खारिएका र विविधतापूर्ण क्षेत्रका विद्यार्थी पाउनेछौं भने विद्यार्थीले समेत केयूभित्र थुप्रै विकल्पहरू पाउनेछन् ।’

 

शिक्षा

न्युजिल्यान्ड फेयर आइतबारदेखि

संक्षेप

काठमाडौं (कास)– न्युजिल्यान्ड अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्ष्य गरेर आइतबार सातौं न्युजिल्यान्ड एजुकेसन फेयर गर्ने भएको छ । कंगारु एजुकेसन फाउन्डेसन, रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेज, डल्फिन एजुकेसन कन्सल्टेन्सीको आयोजनामा राजधानीको होटल र्‍याडिसनमा फेयर हुन लागेको हो । फेयरमा न्युजिल्यान्डका १० वटा सरकारी कलेजका प्रतिनिधि र न्युजिल्यान्ड हाइकमिसनको समेत स्टल रहने आयोजकले जनाएको छ । फेयरमा विषय चयन, कलेज छनोट र भिसा प्रक्रियाको बारेमा सहजै जानकारी पाइने कंगारु एजुकेसन फाउन्डेसनका प्रमुख महेशबाबु तिमल्सिनाले बताए ।

 

शिक्षा

लालीगुराँसलाई अवार्ड

संक्षेप

काठमाडौं (कास)– राजधानीको शंखमूलस्थित लालीगुराँस माविले विभिन्न तीन विधामा अवार्ड पाएको छ । मुलुकभरका ७ सय ४४ विद्यालयबीच राजधानीमा भएको प्रतिस्पर्धामा उक्त विद्यालयले बेस्ट कलेज अफ द इयर, म्यानेजमेन्ट अफ द इयर र बेस्ट प्रिन्सिपल अफ द इयर प्राप्त गरेको हो ।

Page 13
शैली

‘साढे सात’ मा सत्यराज पत्रकार

काठमाडौं (कास)– गायनमा चिनिइसकेका सत्यराज आचार्यले आफ्नै बुबा भक्तराजको जीवनीमा आधारित फिल्म ‘आचार्य’ को शीर्ष भूमिकामार्फत अभिनयमा हात हालेका थिए । उनी फेरि ‘साढे सात’ मा शीर्ष भूमिकासहित देखिन लागेका छन् । साम्तेन भुटियाको निर्देशन रहेको उक्त फिल्ममा सत्यराजले फोटो पत्रकारको भूमिका निर्वाह गरेका छन् । बिहीबार सोही फिल्मको ट्रेलर तथा पोस्टर सार्वजनिक कार्यक्रममा उक्त कुरा खुलेको हो ।

२०७२ मा देशले भोगेको नाकाबन्दीको सेरोफेरोमा आधारित ‘साढे सात’ का बारेमा पटकथाकार समेत रहेका निर्देशक भुटियाले भने, ‘जतिबेला देशले नाकाबन्दी भोगिरहेको थियो । त्यही समयमा एउटा पत्रकारले भोगेको समस्या र देखेका घटनाक्रमलाई देखाउन खोजिएको छ ।’ फिल्ममा सत्यराजसहित सुनील थापा, मेनुका प्रधान, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल, शिशिर वाङ्देल, युवराज घिमिरेको मुख्य भूमिका रहेको छ ।

कार्यक्रममा सत्यराज भने अनुपस्थित थिए । सुनीलले फिल्मलाई मसलेदार पार्ने निहुँमा जबरजस्ती गीत र फाइट नघुसाइएको टिप्पणी गर्दै राम्रो बनेको बताए । फिल्मको सम्पादनसमेत आफैंले गरेका निर्देशक भुटियाले फिल्म सुटिङमा सुनीलको अनुभवले आफूलाई धेरै सहज भएको सुनाए । उनले फिल्म थ्रीलर जानरामा तयार पारिएको जानकारी दिइरहँदा मेनुकाले फिल्म हेर्दा दर्शकमा उत्सुकता बढ्दै जाने बताइन् । फिल्ममा प्रहरीको भूमिकामा रहेका वाङ्देलले भने प्रहरीलाई गलत रूपमा प्रस्तुत गरिने परिपाटीविपरीत आफूले सकारात्मक भूमिका निर्वाह गरेको जिकिर गरे । यसै फिल्मबाट सुप्रियाले डेब्यु गर्न लागेकाले आफ्ना लागि पर्खाइ महत्त्वपूर्ण रहेको सुनाइन् ।


फिल्ममा निर्देशक भुटियासहित सत्यराज र स्वरूपराज आचार्य, सुनील थापा, नरेशदेव पन्तका साथै डीजे सन्तोष निर्माताका रूपमा रहेका छन् । अनिश तामाङको छायांकन रहेको फिल्ममा संगीत सत्य–स्वरूपकै रहेको छ । स्वरूपराजले फिल्मको रिलिज मिति मंसिर १५ राखिएको जानकारी दिँदै त्यसको पनि कारणबारे भने, ‘क्यालेन्डर अनुसार पनि सातौं महिनाको मध्यमा रिलिज हुनेछ । अथवा, साढे सात महिनामै फिल्म आउनेछ ।’

शैली

बाढीपीडितलाई स्रष्टाको सहयोग

काठमाडौं (कास)– तराईका बाढीपीडितलाई सघाउन केही दिनअघि राजधानीका स्रष्टाहरूले ‘मुक्तक मेला’ गरेका थिए । नेपाल मुक्तक प्रतिष्ठानले गरेको कार्यक्रमबाट उठेको १ लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।
साहित्यकारहरूको एक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार रकम हस्तान्तरण गरेको हो । ‘ठूलो सहयोग त हैन यो,’ हस्तान्तरण क्रममा प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले भने, ‘समाजमा सहयोगी भावना जागृत होस् भन्ने उद्देश्यले स्रष्टाहरूका तर्फबाट प्रतीकात्मक सहयोग गरेका हौं ।’

प्रधानमन्त्री देउवाले मुलुकमा आइपर्ने हरप्रकारका विपदमा स्रष्टाहरूको सहयोगले ठूलो र सकारात्मक अर्थ राख्ने बताउँदै साहित्यकारहरूको प्रशंसा गरे । सहयोग हस्तान्तरणमा प्रतिष्ठान अध्यक्ष कोनेसँगै स्रष्टाहरू उषा शेरचन, वियोगी बुढाथोकी, यादव भट्टराई, रमेश पौडेल, कल्पना श्रेष्ठ, निशा केसी लगायत सहभागी थिए ।

Page 15
विदेश

दुईलाई मृत्युदण्डको सजाय

मुम्बई बम आक्रमण

सन् १९९३ मा मुम्बईमा भएको बम आक्रमणमा दोषी ठहर अबु सलेम ।
मुम्बई (बीबीसी)– भारतको मुम्बईस्थित आतंकवादसम्बन्धी अदालतले सन् १९९३ मा मुम्बईमा भएको शृंखलाबद्ध विस्फोटमा दोषी ठहर ६ जनामध्ये २ लाई मृत्युदण्डको सजाय सुनाएको छ ।
फिरोज खान र ताहिर मर्चेन्टलाई टाडा अदालतले ‘आपराधिक षड्यन्त्र तथा हत्या’ को आरोपमा मृत्युदण्डको सजाय सुनाएको हो ।
घटनामा संलग्न अबु सलेम र करिमुल्लाह खानलाई आजन्म कारावासको घोषणा गरेको छ । उनीहरूलाई जनही दुई लाख रुपैयाँ जरिवाना समेत तोकिएको छ । सन् २००५ मा भारतबाट फरार सलेमलाई पोर्चुगलले सुपुर्दगी गरेको थियो । उनी दाउद इब्राहिमको आतंकवादी समूह ‘डी–कम्पनी’ मा संलग्न थिए । रियाज सिद्दिकीलाई भने १० वर्षको कारावास सजाय दिइएको छ । उनीहरू गत जुनमा दोषी ठहर भएका थिए ।
अबु सलेम हातहतियार तथा विस्फोटक सामग्री ओसारपसार गरेकोमा दोषी ठहर भएका हुन् । भारतीय सञ्चार माध्यमले उनलाई मृत्युदण्ड नदिइएकोमा अदालतको तीव्र आलोचना गरेका छन् । सलेमले भारतीय अभिनेता सञ्जय दत्तलाई हतियार उपलब्ध गराएका थिए । घटनामा दोषी ठहर दत्तले यसअघि नै ५ वर्षको जेल सजाय भुक्तान गरिसकेका छन् । १६ जुन २०१७ मा अदालतले यस मुद्दामा ताहिर मर्चेन्ट, फिरोज अब्दुल रासिद खान, करिमुल्लाह खान, अबू सलेम, रियाज सिद्दिकी र मुस्तफा दोसालाई दोषी ठहर्‍याएको थियो । तीमध्ये मुस्तफा दोसाको २८ जुनमा हृदयाघातबाट मृत्यु भइसकेको छ । सन् २०१५ मा अबु सलेमलाई २० वर्ष पुरानो छुट्टै घटनामा आजीवन कारावासको सजाय सुनाइएको थियो ।
सन् १९९३ को मार्च १२ मा मुम्बईका विभिन्न १२ स्थानमा गराइएको ‘आरडीएक्स’ विस्फोटमा २ सय ५७ जना मारिएका थिए । मुम्बई मा सन् १९९३, २००३, २००६, २००८ र २०११ मा भएका विभिन्न आतंककारी आक्रमणमा ६ सय ७२ जनाको मृत्यु भइसकेको छ । घटनापछि १ सय २३ व्यक्तिविरुद्ध मुद्दा चलाइएको थियो । पहिलो चरणको फैसलामा अदालतले १ सय व्यक्तिलाई दोषी ठहर गरेको थियो । आक्रमणमा संलग्न दाउद इब्राहिम, टाइगर मेमन, मोहम्मद उमर अहमद डोस्सा, जाभेद पटेल, दाउद फन्से लगायत ३५ व्यक्ति फरारको सूचीमा छन् ।
मुम्बईमा भएको सन् १९९३ को शृंखलाबद्ध विस्फोटका प्रमुख योजनाकार दाउद इब्राहिम २००३ मा विश्वकै आतंककारी घोषित भएका थिए । उनको टाउकाको मोल २ करोड ५० लाख डलर तोकिएको छ । दाउद २०११ मा विश्वका सर्वाधिक खोजी गरिएका अपराधीको सूचीमा ३ नम्बरमा परेका थिए । यसअघि लामो समय यूएईको दुबईमा बसेका दाउद हाल पाकिस्तानको कराँचीमा बसिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विदेश

उत्तर कोरियामा उत्सव

सोल (एजेन्सी)– गत आइतबार उत्तर कोरियाले गरेको शक्तिशाली हाइड्रोजन बम परीक्षणको खुसियालीमा बिहीबार राजधानी प्योङयाङमा उत्सव मनाइएको छ । परीक्षणमा सफल वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापन गर्दै उत्सव मनाएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । सरकारी टेलिभिजनले राजधानी प्योङयाङमा ध्वजापताकासहित दसौं हजार नागरिक र सैनिकहरूले नाचगान गर्दै उत्सव मनाएका दृश्य प्रसारण गरेको थियो । बिहीबार बिहानैदेखि हजारौं उत्तर कोरियाली नागरिक र सैनिकहरू प्योङयाङको किम इल सुङ स्क्वायरमा जम्मा भएका थिए ।
उनीहरूले उत्तर कोरियालाई अब संसारको कुनै पनि देशले कुनै पनि प्रकारको हानि पुर्‍याउन नसक्ने दाबी गरेका थिए । रंगीचंगी ध्वजापताका बोकेका मानिसले उत्तर कोरियाली नेता किम जोङ उनको जय–जयकार गरेका थिए ।

विदेश

छानो खस्दा ९ को मृत्यु

छोटकरी

नयाँदिल्ली (एएफपी)– भारतको तमिलनाडुमा बिहीबार बस बिसौनीको छानो खस्दा थिचिएर कम्तीमा ९ जनाको मृत्यु भएको छ । राजधानी चेन्नईबाट ५ सय किलोमिटर दक्षिणपश्चिमको सोमानुर क्षेत्रको बस टर्मिनलको छत खस्दा उनीहरूको मृत्यु भएको हो। घटनास्थलबाट ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घटनामा कयौं मानिस फसेको हुन सक्ने सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले घटनास्थलमा उद्धार कार्य जारी रहेको जनाउँदै मृतकको संख्या बढ्न सक्ने जनाएको छ ।
मुम्बईमा गत महिना भएको यस्तै घटनामा २१ जनाको मृत्यु भएको थियो । भारतमा कमजोर भौतिक संरचना भत्किँदा सयौं व्यक्तिले ज्यान गुमाउने अधिकारीको भनाइ छ ।

विदेश

राष्ट्रपतिका छोराद्वारा आरोप अस्वीकार

छोटकरी

मनिला (बीबीसी)– फिलिपिन्सका राष्ट्रपतिका छोरा पावोलो डुर्टेटोले लागूऔषध कारोबारमा संलग्न भएको अस्वीकार गरेका छन् । संसद्को छानबिन समितिसमक्ष बिहीबार उनले चीनबाट फिलिपिन्सको पानीजहाजमा लागूऔषध ओसार्न सहयोग नगरेको दाबी गरे । राष्ट्रपतिका ज्वाइँ मनासेस कार्पियोले पनि आफ्नो संलग्नताको आरोप ‘आधारहीन’ भएको दाबी गरे । उनीहरूविरुद्ध १२ करोड डलरभन्दा बढीको एम फेटामाइन चीनबाट पानीजहाजमार्फत तस्करी गरेको आरोप लगाइएको छ ।
राष्ट्रपति रोड्रिगो डुर्टेटोका छोराले आफूमाथि लगाइएका आरोप निराधार भएको बताए। उनले भने, ‘मेरो कुनै पनि लागूऔषध कारोबारमा संलग्नता छैन । यी सब अफवाह हुन्।’ उनी फिलिपिन्सको दक्षिणी सहर डाभाओका उपमेयर हुन् ।
रोड्रिगो डुर्टेटोले गत वर्ष राष्ट्रपतिमा निर्वाचित भएलगत्तै लागूऔषध कारोबारीविरुद्ध कडा कारबाही सुरु गरेका थिए । उनले आफ्ना कुनै पनि पारिवारिक सदस्य यस्ता क्रियाकलापमा संलग्न भए राजीनामा दिने बताएका थिए ।

विदेश

आँधीले १० को मृत्यु

छोटकरी

पियूर्टो रिको (बीबीसी)– क्यारेबियन क्षेत्रमा ‘इर्मा’ नामक आँधीका कारण कम्तीमा १० जनाको ज्यान गएको छ । आँधीका कारण बर्बुडा र सेन्ट मार्टिन टापुमा व्यापक क्षति भएको छ । करिब ३ सय किलोमिटर प्रतिघण्टाको बेगको आँधीका कारण दुई टापुका करिब सबैजसो भवन भत्किएको बताएका छन् ।अधिकारीले जोखिमका हिसाबले ‘इर्मा’ लाई सबैभन्दा बढी अर्थात् पाँच श्रेणीको दर्जा दिएका छन् । एन्टिगुवा र बर्बुडाको टापुमा क्षति पुर्‍याएको आँधी डोमिनिकन गणतन्त्रको उत्तरतर्फ लागेको छ । प्रधानमन्त्री ग्यास्टन ब्राउनका अनुसार बर्बुडामा ९५ प्रतिशतभन्दा घरहरू क्षतिग्रस्त भएका छन् । उनले भने, ‘आँधीले पूर्णतया ध्वस्त पारेको छ । पछिल्लो ३ दिन हामीले आँधीसँग जुध्न स्रोतसाधनको उच्चतम प्रयोग गरे पनि असफल भयौं ।’

Page 16
स्थानीय निर्वाचन

असन्तुष्ट तानातानले दलमा खलबली

सर्लाही (कास)– जिल्लाका स्थानीय तहमा उम्मेदवार चयन गर्दा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम उदार देखिएका छन् । यी दलले मनोनयनकै दिन पार्टी प्रवेश गराएर अन्य दलका नेतालाई टिकट दिए । नवप्रवेशीलाई उम्मेदवार बनाएपछि वर्षांैदेखि पार्टीमा क्रियाशील कार्यकर्ता असन्तुष्ट छन् ।
एमालेले अन्तिम समयमा एक नगरपालिका र चार गाउँपालिकामा नयाँ प्रवेशीलाई प्रमुख पदमा टिकट दिएको छ । कविलासी, ब्रह्मपुरी, चक्रघटा, विष्णु र धनकौलमा मनोनयनकै दिन अर्काे पार्टीका नेता–कार्यकर्तालाई टिकट दिएको हो । माओवादीले पनि ९ स्थानीय तहमा अन्य पार्टीबाट आएकालाई टिकट दिएको छ । गोडैता, बलरा, रामनगर, चक्रघटा, धनकौल, हरिपूर्वा, पर्सा, चन्द्रनगर र कविलासीमा अन्य पार्टीबाट आएकालाई प्रमुख पदमा टिकट दिइएको हो ।

कांग्रेस र राजपा भने टिकट वितरणमा लचिलो बनेनन् । राजपामा उमेदवार आकांक्षी बढी थिए । त्यसैले असन्तुष्टहरू अन्य पार्टीमा गएका छन् । प्रतिबद्ध कार्यकर्ताभन्दा बाहिरकालाई टिकट दिएकाले माओवादी र एमालेको संगठन चुनावका बेला फैलिएका छन् । संगठन विस्तार र मधेसमा मजबुत हुन एमाले र माओवादी केन्द्र टिकट वितरणमा उदार भएका हुन् । पुराना कार्यकर्तालाई टिकट नदिएको भन्दै माओवादीका दुई नेता अर्काे पार्टीबाट उम्मेदवार बनेका छन् । गोडैता नपामा माओवादी नेता शम्भु पासवानले संघीय समाजवादी फोरमबाट मेयरमा उम्मेदवारी दिए । माओवादीबाट पूर्वसांसदसमेत भइसकेका उनले मेयरको टिकट नपाएपछि पार्टी फेरेका हुन् । माओवादीकै पुराना नेता शंकर चौधरीले पनि चन्द्रनगर गाउँपालिकामा टिकट नपाएपछि फोरम लोकतान्त्रिकको टिकटमा उमेदवारी दर्ता गराए । माओवादी नेता राजकुमार रायले मधेसवादी दलबाट धेरै संख्यामा पार्टी प्रवेश भएकाले पुराना साथीलाई केही स्थानमा टिकट दिन नसकिएको बताए । ‘टिकट नपाउँदा केही महत्त्वपूर्ण साथीहरू असन्तुष्ट हुनु भएको छ,’ उनले भने, ‘मधेसमा पार्टीको राम्रो प्रभाव देखिएको छ । यस्तो बेला सानातिना कुरामा असन्तुष्टि राख्नु हुँदैन ।’ यस्तै राजपाका पूर्वजिल्ला संयोजक रहिसकेका विनय कर्णले टिकट नपाएपछि एमालेबाट कविलासी नगरपालिकाको मेयरमा उम्मेदवारी दिए । एमालेले मनोनयनकै दिन उनलाई टिकट दिएपछि पुराना नेता, कार्यकर्ता भने रुष्ट छन् । एमाले अध्यक्ष रेवती पन्तले नवप्रवेशीलाई टिकट दिँदा ३० वर्षदेखि निरन्तर पार्टीमा काम गरेका साथी असन्तुष्ट हुनु स्वाभाविक भएको बताए । ‘पार्टी हितका लागि यस्तो निर्णय लिनुपरेको हो,’ उनले भने, ‘साथीहरूले पनि यो कुरा बुझ्नुभएको छ ।’

फोरमले उम्मेदवारी दिएन मधेस आन्दोलनको सुरुवात गर्ने संघीय समाजवादी फोरमले सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामै उमेदवारी दिएन ।
लामो समय आन्दोलनको केन्द्र बनेको मलंगवामै प्रमुख र उपप्रमुख पदमा फोरमको उमेदवारी नपरेको हो । फोरम जिल्ला अध्यक्ष अशोक यादवले
मलंगवामा अरूलाई सघाउने उद्देश्यले उमेदवारी नदिएको बताए । उनले कसलाई सघाउने भन्ने खुलाएनन् ।

Page 17
समाचार

प्रमुख पार्टीहरू लोकतन्त्रविरोधी : राजपा

- कान्तिपुर संवाददाता

काठमाडौं– दुई चरणको स्थानीय तह निर्वाचन बहिष्कारपछि तेस्रो चरणको चुनावमा सहभागी भएको राष्ट्रिय जनता पार्टी (राजपा) ले अन्य सबै दललाई लोकतन्त्रविरोधीका रूपमा चित्रण गर्दै उनीहरूले राष्ट्रि्रय एकता नचाहेको र मुलुकमा द्वन्द्व सिर्जना गरी राजनीति गरिरहन खोजेको आरोप लगाएको छ । बिहीबार राजधानीमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै राजपाले संविधान निर्माणका क्रममा भएको त्रुटि, प्रमुख दलहरूको चरित्र चित्रणदेखि जनजीविकाका सवालमा समेत आफ्नो धारणा व्यक्त गरेको हो ।

‘संविधान संशोधन प्रस्ताव नेपाल सरकारको प्रस्ताव भएकाले त्यसको अस्वीकृतिपश्चात् अहिलेको कांग्रेस–माओवादी गठबन्धनको सरकारमाथि प्रश्नचिह्न खडा भएको छ र जुन रूपमा प्रस्ताव पास गराउन कांग्रेस, माओवादीले प्रयास गर्नुपथ्र्याे, त्यस्तो गरेको देखिएन,’ राजापको घोषणापत्रमा भनिएको छ, ‘यस प्रस्तावका विपक्षमा मतदान गरेर एमाले र राप्रपाले आफू मधेसी, आदिवासी जनजाति, थारू, मुस्लिमलगायत सम्पूर्ण उत्पीडित र उपेक्षितको विरोधी भएको वैधानिक रूपमै प्रमाणित गरेका छन् ।’ राष्ट्रिय एकता नचाहने यस्ता दललाई जनताले ‘ब्यालेटका’ माध्यमबाट जवाफ दिनु जरुरी रहेको उल्लेख गरेको छ ।
राजपाले प्रमुख तीन दल र अन्य मधेसी दलहरूप्रति छुट्टाछुट्टै टिप्पणी घोषणापत्रमा गरेको छ । उसले माओवादी केन्द्रलाई आलोचनाको निसाना बनाएको छ । कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि संघीयता र समावेशी लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको र मधेसमैत्री पनि नभएको आरोप लगाएको छ । एमालेलाई संघीयता र समावेशीकरणको विरोधमा रहेको ढुलमुले चरित्रको, मधेसप्रति अनुदार पार्टीको संज्ञा दिएको छ ।

माओवादी केन्द्रको मूल चरित्र संघीयताविरोधी रहेको टिप्पणी राजपाले गरेको छ । ‘लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी हो, शक्तिका बलमा सत्ता कब्जा गर्ने नीतिबाट यो पार्टी सञ्चालित छ,’ माओवादीबारे अतिरिक्त टिप्पणी गर्दै घोषणापत्रमा भनिएको छ, ‘अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनाले माओवादीको मूल चरित्र संघीयताविरोधी हो ।’ मुलुकमा व्याप्त दण्डहीनता, भ्रष्टाचार, असुरक्षा, अशान्ति एवं अराजकता मुख्य रूपले माओवादी केन्द्रकै कारण हावी भएको आरोप राजपाले लगाएको छ । ‘ऐतिहासिक मधेस आन्दोलनका क्रममा सहिद रमेश महतोका हत्यारा र ५२ जना मधेसी सहिद सपूतहरूको हत्याका लागि समेत मुख्य जिम्मेदार नेकपा माओवादी केन्द्र नै हो ।’

मधेसकेन्द्रित उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकले मधेस र मधेसीको बेइज्जत गरेको आरोप राजपाको छ । मधेस आन्दोलनमा एउटै मोर्चामा रहेको संघीय समाजवादी फोरमलाई समेत राजपाले रुचाएको छैन । ‘मधेसकेन्द्रित पार्टीहरूमा संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकलगायत पार्टीका विगतका व्यक्तिगत निहित स्वार्थले प्रेरित क्रियाकलापबाट मधेस तथा मधेसीको बेइज्जत भएको छ,’ राजपाले भनेको छ, ‘मधेसका मुद्दा ओझेलमा परेका छन् भन्ने कुरा सम्पूर्ण स्वाभिमानी मधेसीलाई लज्जाबोधका साथ स्पष्ट रूपमा ज्ञात नै छ ।’

राजपाले यो चुनावलाई संविधानलाई पूर्णता दिलाउने संघर्षको स्वरूपका रूपमा लिएको उल्लेख गरेको छ । ‘जनमतलाई बहिष्कार गरेर उपलब्धि हासिल हुने भएन,’ राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले पत्रकार सम्मेलनमा भने, ‘त्यसैले जनमत लिएर अधिकारको लडाइँ लड्न चुनावमा गएका हौं ।’ राजपाले घोषणापत्रमा चुरे संरक्षणमा जोड दिने, डुबानपीडित पुनर्निर्माण प्राधिकरण गठन गर्ने, मधेस आन्दोलनमा मारिएका परिवारलाई क्षतिपूर्ति दिलाउने र झुटा मुद्दा फिर्ता गर्ने, स्थानीय निकायमा महिलाको कम्तीमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने, नेपाली सेनालगायत सबै सुरक्षा निकायलाई सामूहिक प्रवेश गराए समानुपातिक समावेशी बनाउनेलगायत प्रतिबद्धता गरेको छ ।

Page 18
समाचार

इच्छापत्रको सट्टा अंशबन्डा नै

- राजेन्द्र फुयाल

काठमाडौं– दुई दशकपछि पनि इच्छापत्रको सट्टा अंशबन्डा नै रहने गरी नयाँ मुलुकी ऐन पारित हुने भएको छ । संसद्ले शुक्रबार मुलुकी ऐन प्रतिस्थापनका लागि तयार भएको बहुप्रतीक्षित मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता पारित गर्ने तयारी गरेको छ । विधायन समितिमा वर्षौंको छलफलपछि तय भएको १९ वर्षपछि इच्छापत्रद्वारा परम्परागत अंशबन्डा प्रणाली प्रतिस्थापनसम्बन्धी व्यवस्था भने उल्ट्याउने निश्चित भएको छ । संसद् सचिवालयका अनुसार प्रमुख तीन दलका शीर्ष नेताहरूले १९ वर्षपछि पनि पैतृक सम्पत्तिमा अंशबन्डा गर्ने प्रणाली कायमै राख्ने समझदारी गरेपछि विधायन समितिको निर्णय उल्ट्याएर विधेयक पारित गराउने गृहकार्य भएको हो ।
‘संसद्को सम्भावित कार्यसूचीमा शुक्रबार यी दुवै विधेयक पारित गर्ने उल्लेख छ,’ संसद् सचिवालयका एक अधिकारीले भने, ‘सम्बन्धित (विधायन) समितिको प्रतिवेदनमाथि सदनमा हुने छलफलको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रममा इच्छापत्रसम्बन्धी प्रावधान फिर्ता लिने तय भएको छ ।’ विधायन समितिकी सभापति गंगा चौधरी सद्गौवा भने संसद्को विषयगत समितिले सर्वसम्मत पारित गरेको विषयलाई सरकारको प्रस्तावद्वारा फिर्ता लिन नमिल्ने बताउँछिन् ।

‘संसदीय समितिले पारित गरेको विषय संसदको पूर्ण बैठकलाई चित्त बुझेन भने निर्देशनसहित सम्बन्धित समितिमा पठाउन सक्छ, विगतको अभ्यास पनि यही हो,’ सभापति चौधरीले भनिन्, ‘समितिले पारित गरेको विषय सरकारले सोझै फिर्ता लिने हो भने संसदीय समितिको के काम ? त्यसै गर्ने हो भने विधेयकमाथिको दफावार छलफलका लागि समितिमै नपठाए हुन्छ ।’ यसअघि अर्थ समितिले पारित गरेको बैंकिङ कसुर तथा सजाय ऐन (बाफिया) विधेयकका केही दफाबारे चौतर्फी आलोचना भएपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उक्त विधेयक पुनर्विचारका लागि सम्बन्धित समितिमै फर्काउने प्रस्ताव सदनमा गरेका थिए । सदनको निर्देशनसहित विधेयक फर्किएपछि अर्थ समितिले त्यसका केही दफा सच्याएर पुन: पारित गरी सदनमा पेस गरेको थियो ।

इच्छापत्रसम्बन्धी व्यवस्था हटाउने विषयमा भने प्रमुख दलका शीर्ष नेताबीच मतैक्य भएका कारण संसदीय प्रक्रियासमेत मिच्न लागिएको हो । २०६७ मै सदनमा पेस भएको विधेयकमा २०८० बाटै इच्छापत्रसम्बन्धी व्यवस्था लागू गर्ने प्रस्ताव थियो । पैतृक सम्पत्तिमा अंशबन्डासम्बन्धी व्यवस्थालाई इच्छापत्रले प्रतिस्थापन गर्दा पैतृक सम्पत्तिमा छोरीले पाएको समान अंशको अधिकार खोसिने तर्क गर्दै महिला अधिकारकर्मीले गरेको व्यापक लबिङपछि नेताहरू इच्छापत्रविरुद्ध उभिएका हुन् ।
विधायन समितिबाट पारित विधेयकमा २०७५ भदौदेखि मात्रै यो ऐन लागू हुने र त्यसको १८ वर्षपछि अंशबन्डा प्रणालीलाई इच्छापत्रद्वारा विस्थापित गर्ने उल्लेख छ जसअनुसार, व्यक्तिले आफ्नो सम्पत्तिसम्बन्धी त्यस्तो इच्छापत्र तत्काल वा मृत्युपछि मात्रै लागू हुने गरी गर्न सक्छ ।

सम्पत्तिको मालिकले आफ्नो मृत्युपछि मात्रै खुल्ने गरी सिलबन्दी इच्छापत्र तालुक अड्डामा दर्ता गराउन सक्ने प्रस्तावित व्यवस्था छ जसमा सम्पत्ति मालिकको मृत्युपछि मात्रै अपुताली पाउनेको नाम सार्वजनिक हुनेछ । त्यस्तो इच्छापत्र साक्षीसमेत नराखी दर्ता गराउन सकिने प्रावधान छ । अन्य इच्छापत्रमा भने दुई साक्षी आवश्यक छ। अचल सम्पत्तिका हकमा भने मालपोत कार्यालय र विदेशमा भए दूतावास वा महावाणिज्य दूतावासका अधिकारीले इच्छापत्र प्रमाणीकरण गरेको हुनुपर्छ । चल सम्पत्तिका हकमा भने सम्पत्तिका मालिकले आफ्नो हस्ताक्षरमा लेखेको इच्छापत्र सरकारी अड्डामा दर्ता नभए पनि मान्य हुने व्यवस्था प्रस्तावित छ । संसदमा शुक्रबार सरकारले यो प्रस्ताव फिर्ता गरेपछि बाँकी रहने अंशबन्डासम्बन्धी व्यवस्थामा केही नयाँपन भने बाँकी रहनेछन् जसअनुसार घरमूलीले आफ्ना पति–पत्नी, छोराछोरी वा आमाबाबुलाई इज्जत आमदअनुसार खानलाउन दिनु र स्वास्थ्य उपचार गर्नुपर्छ भने सन्तानका लागि उचित शिक्षाको दायित्व लिनुपर्छ । यस्तो दायित्व पूरा गर्ने सम्पत्तिको मालिकले अंशियारलाई सम्पत्ति बन्डा गरिदिनुपर्छ । अंशियारले आपसी सहमतिमा जहिलेसुकै छुट्टीभिन्न हुन पाउँछन् । पैतृक सम्पत्तिमा छोरा र छोरी समान अंशियार हुनेछन् । घरव्यवहारको जिम्मेवारी लिनुपर्ने मुख्य व्यक्तिले व्यवहार धान्न आवश्यक पर्दा कुल अचल सम्पत्तिको आधासम्म बेचबिखन गर्न पाउँछ ।
संविधानपछि सर्वसाधारणको दैनिक जीवनलाई सबैभन्दा बढी प्रभावित गर्ने मुलुकी ऐन प्रतिस्थापनले देशको कानुनी प्रणाली र दण्डव्यवस्थामा आमूल परिवर्तन गर्नेछ। दक्षिण एसियाकै पुरानो लिखित कानुनका रूपमा जंगबहादुर राणाले १९१० मा पहिलोपटक मुलुकी ऐन जारी गरेका थिए । परम्परागत हिन्दु कानुनमा आधारित उक्त कानुनलाई २०२० को नयाँ मुलुकी ऐनद्वारा प्रतिस्थापन गरिएको थियो ।

समाचार

नेपाल–चीन ऊर्जा सहकार्य सम्झौता

- चेतनाथ आचार्य

बेइजिङ– चीन भ्रमणमा आएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सामान्य र नियमित विषयबाहेक तातोपानी नाका खुलाउन नेपालले जोड दिएको बताए । यस अगाडि दुई देशबीचमा भएका सम्झौताको कार्यान्वयन गर्ने कुरामा चिनियाँ समकक्षी वाङ यीसँग छलफल भएको र दुवै पक्ष त्यसमा सहमत भएको संयुक्त पत्रकार सम्मेलनमा दिइएको थियो । भेटपछि चिनियाँ परराष्ट्रमन्त्री वाङले महराको प्रतिनिधिमण्डललाई दिवा भोज दिएका थिए । चिनियाँ समकक्षीसँगको भेटपछि महराले चिनियाँ राज्य परिषद् सदस्य याङ चे छसँग भेट गरेका छन् । याङ चे छ सन् २०१२ सम्म चीनका परराष्ट्रमन्त्री थिए । चिनियाँ राज्य परिषद् सदस्यको हैसियत मन्त्रीभन्दा माथि हुने गर्छ । भेटमा याङले चीनले नेपालसँगको सम्बन्धलाई सधैं उच्च महत्त्व दिएको बताउँदै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा हस्ताक्षर गरेपछि नेपालको पूर्वाधार विकासमा अझै धेरै चिनियाँ सहयोग र लगानी वृद्धि हुने बताएका थिए ।
समकक्षी वाङ र राज्य परिषद् सदस्य याङसँगको भेटपछि महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग भेट गरेका हुन् । यसभन्दा पहिले पुष्पकमल दाहाल प्रधानमन्त्री हुनासाथ विशेष दूतका रूपमा चीन भ्रमणमा आउँदा पनि महराले प्रधानमन्त्री लीसँग भेट गरेका थिए । बेइजिङस्थित नेपाली दूतावासले बिहीबार साँझ महराको स्वागतमा रात्रिभोज गरेको थियो । रात्रिभोजअघि नेपालको ऊर्जा मन्त्रालय र चिनियाँ राष्ट्रिय ऊर्जाबीचमा सम्झौता भएको छ । दुई देशबीचमा ऊर्जा उत्पादन, अन्तरदेशीय ट्रासमिसन ग्रिड लाइन विस्तार र ऊर्जा उत्पादनमा दुई देशबीचमा विशेष संयन्त्र स्थापना गर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा नेपालको ऊर्जा मन्त्रालयका तर्फबाट दूतावासका मिनिस्टर (सहसचिव) सुशील लम्सालले हस्ताक्षर गरेका छन् भने चीनका तर्फबाट ब्युरोका उपमहानिर्देशक ह याङको हस्ताक्षर रहेको छ ।

त्यसैगरी बेइजिङ चोङचिङरुन पर्यटन लगानी कम्पनी र दूतावासबीचमा चीनका विभिन्न ठाउँमा बुद्धका मूर्ति राख्नेबारेमा अर्काे सम्झौतामा हस्ताक्षर भएको छ । महराले शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका मन्त्री सोङ थाउसँग भेटदै छन् । शुक्रबार नै बेइजिङस्थित चाइना फरेन अफेयर्स युनिभर्सिटीमा हुने अन्तरक्रियालाई सम्बोधन गर्नेछन् । फर्कने क्रममा उनले गोन्जाओमा ६ महिनाअघि स्थापना भएको महावाणिज्य दूतावासको उद्घाटनसमेत गर्नेछन् ।

समाचार

चुनावबारे राष्ट्रपतिलाई ब्रिफिङ

काठमाडौं (कास)– निर्वाचन आयोगले स्थानीय तहको तेस्रो चरण तथा मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारीबारे बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएको छ । आयोगले चुनावसम्बन्धी कानुनी पूर्वाधार तयार भइसकेकाले प्राविधिक तयारीमा जुटिसकेको जानकारी गराएको थियो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले क्षेत्र निर्धारणको प्रतिवेदन प्राप्त भएको र त्यसका आधारमा नियमावली, निर्देशिका र कार्यविधि निर्माण भइरहेको जानकारी राष्ट्रपतिलाई गराएका थिए । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगले आचारसंहिता कडा रूपमा पालना गराइरहेको पनि उल्लेख गरेको अयोगले जनाएको छ ।

भेटमा राष्ट्रपति भण्डारीले दुई चरणको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिएकी थिइन् । राष्ट्रपति भण्डारीले लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएका र मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट संविधानको भावना र जनताको चाहनाले मूर्तरूप लिने विश्वास व्यक्त गरिन् ।

समाचार

उच्चस्तरीय शिक्षा आयोग गठन

काठमाडौं (कास)– सरकारले प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालय शिक्षाको नीति, कार्यक्रम र संगठन तर्जुमा गर्न उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन गरेको छ ।

आयोगमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झा, पूर्वशिक्षामन्त्रीद्वय डा. गंगालाल तुलाधर र धनीराम पौडेल, सांसदहरू जीवन परियार, उमेश श्रेष्ठ, गीता राणा, डा. शिवजी यादव, जंगीलाल राय यादव, रुक्मिणी चौधरी, शिक्षाविद् केदारभक्त माथेमालगायत छन् ।

आयोगमा योजना आयोगका शिक्षा हेर्ने सदस्य, विभिन्न विश्वविद्यालयका उपकुलपतिसमेत सदस्य छन् । आयोगले पाँच महिनाभित्र संघ, प्रदेश र स्थानीय तहका लागि शिक्षा नीति, कार्यक्रम र संगठन, स्वरूप एवं सुधारसम्बन्धी प्रतिवेदन दिनेछ । सरकारले शिक्षामा तत्काल सुधार गर्नुपर्ने विषयमा सुझाव दिन पूर्वसचिव विद्याधर मल्लिकको संयोजकत्वमा उच्चस्तरीय कार्यदलसमेत गठन गरेको छ ।

Page 19
अर्थ वाणिज्य

गैरकानुनी सेयर कारोबारमा नियामक निकायको चासो

- यज्ञ बञ्जाडे
  •  नियमक निकायका कर्मचारीको सेयर लगानीबारे छानबिन हुने
  • सेयर बजार सुशासन निर्देशिका ल्याइँदै

काठमाडौं– गैरकानुनी रूपले हँुदै आएको सेयर कारोबार व्यवस्थित गर्न पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले चासो देखाएका छन् । नियामक निकाय, बैंक तथा वित्तीय संस्थालगायतमा कार्यरत जिम्मेवार उच्च पदस्थ अधिकारीहरू नै सेयर बजारमा सक्रिय रहेको देखिएपछि बोर्ड र बैंक सक्रिय भएका हुन्। बोर्डले कर्मचारीको सेयर लगानीको छानबिनसँगै सूचीकृत कम्पनी लक्षित सुशासन निर्देशिकाको तयारी थालेको छ ।
‘गैरकानुनी कारोबार नियन्त्रणका लागि बोर्डले पहिलो चरणमा सूचीकृत कम्पनीहरूका लागि सुशासन निर्देशिका ल्याउन लागेको छ,’ स्रोतले भन्यो, ‘निर्देशिका जारी भएपछि कम्पनीहरूबाट हुने धेरै प्रकारका भित्री कारोबार (इन्साइड ट्ेरडिङ) मा कमी आउनेछ ।’ यसैगरी नियामक निकायका कर्मचारीको सेयरमा भएको लगानीबारे पनि छानबिन गर्ने तयारी बोर्डको छ । ‘अन्य निकायका कर्मचारीको त सम्बन्धित संस्थाले छानबिन गर्नुपर्छ,’ बोर्ड स्रोतले भन्यो, ‘बोर्डका कर्मचारीको हकमा हामी छानबिन गरिरहेका छौं ।’ नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले पनि दोस्रो बजारमा कर्मचारीको सेयर कारोबारबारे सतर्क रहेको बताए । ‘यस्ता कारोबारबारे सचेतता अपनाइनेछ,’ उनले कान्तिपुरसित भने । राष्ट्र बैंकलगायत नियामक निकायका कर्मचारीहरू पनि सेयर बजारमा सक्रिय देखिएका छन् । दोस्रो बजारमा लगानी गरेको उजुरीका आधारमा राष्ट्र बैंकले केही कर्मचारीहरूको लगानी सम्बन्धमा छानबिन सुरु गर्नुले पनि यो पुष्टि हुन्छ ।
बोर्डले जारी गर्ने निर्देशिकामा सूचीकृत कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी तथा उच्च पदस्थ कर्मचारीहरूका लागि सेयरमा लगानीसम्बन्धी नीतिगत व्यवस्था गरिने जनाइएको छ । ‘निर्देशिका जारी भएपछि कम्पनीका उच्च पदस्थ व्यक्तिहरू बैठकबाट उठेर शौचालयमा गई सेयर खरिदका लागि ब्रोकरलाई निर्देशन दिने प्रवृत्ति रोकिनेछ,’ स्रोतले भन्यो, ‘निर्देशिकामा उच्च पदस्थ कर्मचारीहरूको दायित्व तथा जिम्मेवारीसँग सम्बन्धित पक्षहरू उल्लेख हुनेछ ।’
उक्त निर्देशिकाले बजारमा रहेका सबै विकृति नियन्त्रण गर्न नसके पनि कम्पनीहरूलाई थप जिम्मेवार बनाउने स्रोतले दाबी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि नियामक निकायले सुशासनसम्बन्धी निर्देशिकामार्फत नियमन तथा सुपरिवेक्षण गर्दै आएको जनाउँदै स्रोतले भन्यो, ‘यो अन्तर्राष्ट्रिय अभ्यास हो, सोहीबमोजिम बोर्डले निर्देशिका तयार पारेको छ । मस्यौदा बोर्डमा पेस भइसकेको छ, ढिलोमा दुई साताभित्र आउँछ ।’ विद्यमान कानुनले कम्पनीका सञ्चालक तथा उच्च पदस्थ कर्मचारीहरूले दोस्रो बजारमा सेयर कारोबार गर्न नपाउने स्पष्ट व्यवस्था भए पनि ती अधिकारीहरू पूर्ण रूपमा दायित्वविहीन देखिएकाले बजारमा ‘इन्साइड ट्ेरडिङ’ मौलाउँदै गएको हो ।
कम्पनीको आन्तरिक सूचना चुहाएर सेयर बजारमा चलखेल हुने प्रवृत्ति नयाँ भने होइन । प्रभावकारी नियमन तथा सुपरिवेक्षणको अभावमा यस्तो कारोबार मौलाउँदै गएको छ । यसमा सूचीकृत कम्पनीका सञ्चालक, प्रमुख कार्यकारीसहित उच्च पदस्थ कर्मचारीहरू पनि संलग्न छन् । ‘निर्णय प्रक्रियामा आफैं संलग्न हुने र त्यही सूचनाका आधारमा सेयर बजारमा खेल्ने प्रवृत्ति मौलाउँदै गएको छ,’ स्रोतले भन्यो । नियामक निकायले नियमन तथा सुपरिवेक्षण क्षमता बढाउन नसक्नुका साथै कम्पनीहरूले कर्मचारीसम्बन्धी आचारसंहिता प्रभावकारी रूपमा लागू गर्न नसकेकाले यस्तो अवस्था आएको हो ।
सेयर बजारमा देखिएका भित्री चलखेल नियन्त्रणका लागि भएका प्रयासबारे जिज्ञासा राख्दा धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘बोर्डले नियमित रूपमा बजारको नियमन तथा सुपरिवेक्षण गरिरहेको छ, यसलाई अझै सशक्त बनाउने योजना छ ।’ सुपरिवेक्षण क्षमतालाई थप प्रभावकारी बनाउन चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उक्त विषय समावेश गरिएको गिरीले बताए ।
यसैगरी केन्द्रीय बैंकले अन्य वित्तीय सुशासनका विषयमा पनि कडाइ गर्न थालेको छ । गुरुप्रसाद न्यौपानेले जनता बैंकमा सञ्चालक रहँदा अर्को वाणिज्य बैंकबाट ऋण लिएको भेटिएपछि केन्द्रीय बैंकले छानबिन थालेको छ ।
यस सम्बन्धमा राष्ट्र बैंकले न्यौपानेसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।
बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको स्रोतले बताएको छ । न्यौपानेले श्रीमतीका नाममा खरिद गरेको सेयर जफत गरी कानुनबमोजिम बिक्री गर्न सम्बन्धित बैंकलाई राष्ट्र बैंकले निर्देशन पनि दिएको छ । ‘न्यौपाने सञ्चालक रहँदा दोस्रो बजारबाट सेयर खरिद गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा कैफियत देखिएपछि उक्त सेयर जफत गर्न सम्बन्धित बैंकलाई निर्देशन दिइएको हो,’ राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने ।

अर्थ वाणिज्य

अनिश्चितकालीन बन्दको चेतावनी

दरबारमार्ग अनुगमन प्रकरण
- राजु चौधरी
  • चाडबाड अगाडि सुपरमार्केट, मल, न्युरोड क्षेत्रमा अनुगमन गरी पसल बन्द गर्न पाइँदैन : व्यवसायी
  • व्यवसायीको दबाबले अनुगमन रोकिँदैन : आपूर्ति विभाग


काठमाडौं– सरकारी अनुगमनको विरोधमा उत्रेका व्यवसायीहरूले दरबारमार्गका स्टोरहरू अनिश्चतकालसम्म बन्द गर्ने चेतावनी दिएका छन् ।
दरबारमार्ग क्षेत्रका व्यापारीको साझा संस्था दरबारमार्ग विकास बोर्डले व्यवसायीले कालोबजारी नगरेको दाबी गर्दै सिलबन्दीमा परेका पसलहरू खुला नगरेसम्म सबै पसलहरू बन्द गर्ने बताएको छ ।
उपभोक्ता ठगी गर्न नपाएका व्यवसायीले विरोधस्वरूप बिहीबार दरबारमार्गका सबै लत्ताकपडा पसलहरू बन्द गरे । बोर्डका अनुसार उक्त क्षेत्रमा १ सय ६५ वटा आउटलेट छन् । बोर्डका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले अनुगमन तत्काल नरोके मुलुकभरिकै पसल बन्द गर्ने चेतावनी दिए ।
‘केही दिनदेखि आपूर्तिमन्त्री शिवकुमार मण्डल, आपूर्ति विभागका अधिकारीसहितले अकस्मात् अनुगमन गरी पसलहरू सिलबन्दी गरे । व्यवसायीले बोर्डमार्फत समस्या सुल्झाउन सुझाव दिँदादिँदै पसलहरू बन्द गरियो ।
सरकारी तवरबाटै पसलमा छापा मार्दै व्यापार व्यवसाय धराशायी भएको मात्र होइन, अन्तर्राष्ट्रिय ब्रान्डको समेत खिल्ली उडाउने काम भएको छ,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष कक्षपतीले भने, ‘अनुगमन कार्यको घोर भत्र्सना गर्दछौं । सरकारले सिलबन्दी खुला नगरेसम्म सबै पसलहरू बन्द गर्ने निर्णय
गरेका छौं ।’
उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठले पनि चाडबाडको मुखमा अनुगमन गरेको भन्दै विरोध गरे । ‘व्यवसायीलाई नाफाखोर, कालोबजारी भन्दा व्यवसायीहरू पलायन हुन्छन् । व्यवसायीहरूले राज्यलाई कर तिरेका छन्,’ उनले भने, ‘अनुगमनको बहानामा व्यवसाय बन्द गर्ने काम नगरौं । व्यवसाय सञ्चालन गर्ने वातावरण बनाऊँ ।’ ब्रान्डेड सामान भएकाले केही महँगो पर्ने उनले बताए । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले बुधबार दरबारमार्गका ५ ब्रान्डेड स्टोरमा सिलबन्दी गरेको थियो ।
अनुगमनका क्रममा व्यवसायीले कपडादेखि घडीसम्ममा चर्को मूल्य असुलेको फेला परेपछि ‘वाच एन्ड सी’, सुलक्स सेन्टर, रिबक, बोसनी, लिवाइजमा सिलबन्दी गरिएको थियो ।
विभागको टोलीले सोमबार पनि उक्त क्षेत्रमा अनुगमन गरेको थियो । त्यसक्रममा पुमा, नाइकी, बेन्ट्ले र स्टोर वानमा अत्यधिक मुनाफा राखी बिक्री गरेको फेला परेको थियो । टोलीले ती स्टोरलाई पनि सिलबन्दी गरेको थियो ।
कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सयाज ऐन २०३२ अनुसार २० प्रतिशतभन्दा बढी नाफा राखेर बिक्री गर्न पाइँदैन । तर, ब्रान्डेडका नाममा उच्च नाफा राखी सर्वसाधारणलाई ठग्ने काम भइरहेको छ ।
सेलको नाममा ११ गुणाभन्दा बढी मूल्य लिएको फेला परेपछि अनुगमन टोलीले ती स्टोरहरू बन्द गरेको थियो । त्यस समयमा पनि व्यवसायीले अवरोध गरेका थिए ।
बोर्डका योजना प्रमुख श्री गुरुङले २० प्रतिशत मुनाफाले दरबारमार्गमा व्यापार गर्न नसकिने बताए । ‘दरबारमार्ग क्षेत्रमा लगानी र सञ्चालन खर्च उच्च छ । २० प्रतिशत मात्रै मुनाफा राखेर बिक्री गर भन्नु नै गलत हो,’ उनले भने, ‘राज्यलाई राजस्व बुझाएका छौं । आपूर्तिले अनुगमन गरेर बन्द गर्न पाइँदैन ।’ व्यवसायीले सिलबन्दीको विरोधमा दिनभरि पसल बन्द गरे ।
बोर्डले यही विषयमा चेम्बर अफ कमर्स र उद्योग वाणिज्य महासंघसँग छलफल पनि गरेको थियो । ‘चेम्बर र उद्योग वाणिज्य महासंघका पदाधिकारीमार्फत आपूर्ति मन्त्रालयमा कुरा गरेका छौं । अनुगमनले व्यापारीलाई अन्योल बनायो,’ अध्यक्ष कक्षपतीले भने, ‘दसैंका अगाडि सुपरमार्केट, मल, न्युरोड क्षेत्रमा अनुगमन गर्न पाइँदैन। चाडबाड अगाडि पसल बन्द गर्न पाइँदैन ।’ पसल बन्द हुँदा व्यवसायीको साख खराब भएको उनले दाबी गरे ।
चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारी अनुगमन दसैंको बेलामा मात्रै उचित नहुने बताए । अहिले देखिएको समस्या भन्सारबाट उब्जेको उनले बताए । व्यवसायी दोहोरो मारमा परेको उनको भनाइ छ । ‘हामी बन्द विरोधी हौं तर मर्का परेपछि व्यवसायीहरू बाध्य भएका छन् । दसैंको मुखमा अनुगमन गर्नु उचित होइन,’ उनले भने, ‘सरकारसँग छलफल गरेर छिट्टै समस्या समाधान गर्छौं ।’ दरबारमार्गमा भएको अनुगमनले न्युरोडका व्यवसायीहरू पनि त्रसित भएको उनले बताए ।
विभागका महानिर्देशक कुमार दाहालले अनुगमन निरन्तर हुने बताए । ‘उपभोक्ताबाट अनुगमन गर्नुपर्छ भन्ने माग छ । व्यवसायीले अनुगमन गर्नु हुँदैन भन्छन् । अनुगमनको विरोधमा व्यवसायीले बन्द गर्नुको मतलव व्यवसायी ठीक सरकार बेठीक भन्न खोजेका होलान्,’ उनले भने, ‘व्यवसायीको नजरमा सरकार बेठीक भए पनि अनुगमन गर्छौं ।
शुक्रबार पनि कुनै न कुनै क्षेत्रमा अनुगमन हुन्छ ।’ अनुगमनले बजारमा केही प्रभाव पारेको उनले बताए । ‘बजारमा उपभोक्तालाई न्याय दिन खोजेका छौं,’ उनले भने ।

Page 20
अर्थ वाणिज्य

सेयर निष्कासन सम्झौता

काठमाडौं (कास)– नेपाल क्रेडिट एन्ड कमर्स बैंकले सेयरधनीहरूका लागि २ कित्ता सेयर बराबर १ कित्ता सेयर निष्कासन गर्न सनराइज क्यापिटल लिमिटेडलाई प्रबन्धकमा नियुक्त गरेको छ । उक्त कार्यका लागि नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

 

अर्थ वाणिज्य

हिमस्टारले भित्र्यायो ४ नयाँ वासिङ मेसिन

छोटकरी

काठमाडौं (कास)– हिम इलेक्ट्रोनिक्सले लन्ड्री लाइनअपमा ४ नयाँ मोडलहरू थप गरेको छ । थपिएका इलेक्ट्रोनिक एप्लायन्सेसमध्ये ६ दशमलव ५ केजीको एउटा टप लोडिङ र ६ दशमलव ५ केजीदेखि १० केजी क्षमतासम्मका ३ फ्रन्ट लोडिङ वासिङ मेसिनहरू रहेको जारी विज्ञप्तिमा उल्लेख छ । फ्रन्ट लोडिङ मोडलहरू विभिन्न १५ विशेषताहरू इन्टेलिजेन्स कन्ट्रोल, एलईडी डिस्प्ले, टेम्पेरेचर रेगुलेसन, १५–१८ मिनेट क्विक वास, १–२४ आवर डिले स्टार्ट, चाइल्ड लक फग्ङसनलगायत रहेको जनाएको छ।

 

अर्थ वाणिज्य

हिमस्टारले भित्र्यायो ४ नयाँ वासिङ मेसिन

छोटकरी

काठमाडौं (कास)– हिम इलेक्ट्रोनिक्सले लन्ड्री लाइनअपमा ४ नयाँ मोडलहरू थप गरेको छ । थपिएका इलेक्ट्रोनिक एप्लायन्सेसमध्ये ६ दशमलव ५ केजीको एउटा टप लोडिङ र ६ दशमलव ५ केजीदेखि १० केजी क्षमतासम्मका ३ फ्रन्ट लोडिङ वासिङ मेसिनहरू रहेको जारी विज्ञप्तिमा उल्लेख छ । फ्रन्ट लोडिङ मोडलहरू विभिन्न १५ विशेषताहरू इन्टेलिजेन्स कन्ट्रोल, एलईडी डिस्प्ले, टेम्पेरेचर रेगुलेसन, १५–१८ मिनेट क्विक वास, १–२४ आवर डिले स्टार्ट, चाइल्ड लक फग्ङसनलगायत रहेको जनाएको छ।

 

अर्थ वाणिज्य

इलेक्ट्रोलक्सको ‘स्योर सट’

छोटकरी

काठमाडौं (कास)– इलेक्ट्रोलक्सले दसैं, तिहार र छठलाई लक्षित गर्दै ‘स्योर सट’ उपहार योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले फ्रिज, वासिङ मेसिन, डिस वासर, चुहो, चिम्नि र एयर कन्डिसनरको हरेक खरिदमा १७ सय ९० देखि २१ हजार ९०० रुपैयाँसम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरू स्योर सट उपहारका
रूपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

अर्थ वाणिज्य

जिओनीको ‘उत्सव खुसियाली’

छोटकरी

काठमाडौं (कास)– जिओनीले चाडबाडका अवसरमा ‘उत्सव खुसियाली सिंगापुर यसपालि’ योजना ल्याएको छ । योजनाअनुसार प्रत्येक जियोनी मोबाइल सेट खरिदकर्ताले प्राप्त गर्ने एउटा स्क््रयाच कार्डमार्फत एक्सक्लुसिभ उपहार, १२ जना ग्राहकले जिओनी मोबाइल सेट वा २० जना ग्राहकले ५ दिन ४ रातको सिंगापुर ट्रिप जित्न सक्ने जारी विज्ञप्तिमा छ । यो योजनाअन्र्तगत हरेक ग्राहकले हात खाली नजाने गरी निश्चित पुरस्कार पाउने जनाइएको छ ।

 

अर्थ वाणिज्य

नोकिया ओरिओ अपडेटको घोषणा

छोटकरी

काठमाडौं (कास)– नोकियाले अब आउने सबै आफ्ना स्मार्टफोनमा ओरिओ अपडेटको घोषणा गरेको छ । एचएमडी ग्लोबलको मुख्य उत्पादक अधिकारीले नोकियाको सबै स्मार्टफोन नोकिया ३, नोकिया ५ र नोकिया ६ मा एन्ड्रोइड ओरियो अपडेट गर्न सक्ने जनाएको छ । एन्ड्रोइड ८.० बजारमा आएको नयाँ अपडेट भएको जारी विज्ञप्तिमा छ । नोकियाको नयाँ स्मार्टफोन नोकिया ८ मा एन्ड्रोइड ओरिओ रहेको र नेपाली बजारमा चाँडै भित्रिने जनाएको छ ।

 

अर्थ वाणिज्य

केडीको क्यालिबर जुत्ता बजारमा

छोटकरी

काठमाडौं (कास)– केडी सुजले नयाँ क्यालिबर जुत्ताहरू बजारमा ल्याएको छ । कम्पनीले बजारमा ल्याएका क्यालिबरका नयाँ डिजाइनहरूमा लोफर, विङटिप, डर्बी, ब्रग, नाइलन ग्रिप, स्पार्डिल्स र स्केटर रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
यी जुत्ताहरू स्पोटर्स, पार्टी, बुट र क्याजुअल रहेको कम्पनीले जनाएको छ । हाल काठमाडौंका ३० आउटलेट र नेपालका मुख्य सहरहरूमा
१२० आउटलेटमार्फत यी जुत्ताहरूको बिक्री वितरण भइरहेको पनि विज्ञप्तिमा छ । केडी सुजले आफ्ना सबै जुत्तामा ६ महिनाको वारेन्टीसमेत दिएको छ ।

Page 21
अर्थ वाणिज्य

१८ मुलुकका उद्यमी आउँदै

महिला उद्यमी सम्मेलनबारे बिहीबार जानकारी दिँदै दक्षिण एसियाली महिला विकास मञ्चका पदाधिकारी । तस्बिर : कान्तिपुर 

काठमाडौं (कास)– महिला उद्यमीहरूलाई प्रविधि र सीपबारे जानकारी दिलाउनेलगायतका उद्देश्यले नेपालसहित १८ मुलुकका उद्यमीको सहभागिता रहने दुईदिने सम्मेलन सोमबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ । कार्यक्रममा दक्षिण एसिया (सार्क) र दक्षिणपूर्वी एसिया (आसियान) क्षेत्रसहित अन्य मुुलुकका गरी ८० जना विदेशीहरूको सहभागिता रहनेछ । कार्यक्रममा कृषि, पर्यटन, टेक्सटायल र सूचना प्रविधि विषयमा छलफल र प्रस्तुति हुनेछ । १२ जना विज्ञहरूले यी विषयमा व्यवसाय विस्तार, नयाँ प्रविधिको उपयोग र निर्यातका सम्भावनाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

कार्यक्रमको आयोजना दक्षिण एसियाली महिला विकास मञ्चले गर्नेछ । मञ्चले तयारी पूरा भएको जनाउँदै यसपटक देशभरका साना तथा मझौला उद्यममा सहभागी ७० महिलाहरू सहभागी हुन लागेको जानकारी दिएको छ । उनीहरूले यो सम्मेलनमा नवीन प्रविधि र ज्ञानबारे जानकारी पाउने आयोजकले बताएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आधिकारिकता प्राप्त मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालका अनुसार दुईदिने सम्मेलनले सार्क, आसियान र चीनका उद्यमी महिलाबीच साझेदारी विकास गरिनेछ ।

मञ्चकी उपाध्यक्ष याङ्किला शेर्पाले नेपालमा विस्तार हुँदै गइरहेको चिनियाँ पर्यटनबारे प्रस्तुति गर्नेछिन् । ‘पछिल्ला तथ्यांकहरूले चिनियाँ पर्यटकको संख्या बढदै गएको छ तर यसलाई व्यवस्थित कसरी गर्नेबारे मैले प्रस्तुति गर्दै छु,’ उनले भनिन्, ‘नेपालमा पर्यटकीय सम्भावनाबारे यो मञ्चमार्फत आहवान पनि गर्नेछु ।’
मञ्चकी अर्की उपाध्यक्ष शान्ति चड्डाले उक्त सम्मेलन साना घरेलु उद्यम चलाइरहेका महिलाहरूका लागि उपयोगी हुने बताइन् । ‘अहिले पनि हाते तान, लुमबाट धेरै राम्रा कपडा उत्पादन हुन्छन्, यसबारे सम्मेलनमा आउने राजदूतलगायतले नेपालमा के कस्ता प्रविधि अपनाइएका रहेछन् भन्ने जानकारी पाउनेछन्,’ उपाध्यक्ष चड्डाले भनिन् ।

अर्थ वाणिज्य

जुफालमा परीक्षण उडान

डोल्पा (कास)– जुफाल विमानस्थलमा शुक्रबार परीक्षण उडान हुने भएको छ । नेपालगन्जबाट जहाजले यो विमानस्थलमा परीक्षण उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण आयोजना प्रमुख वीरप्रसाद शाहीले जनाए ।
यो विमानस्थलमा कालोपत्रे गर्नका लागि असार १ देखि उडान बन्द गरिएको थियो । प्राधिकरणका अनुसार ५ सय ६० मिटर लम्बाइ रहेको विमानस्थलको ५ सय २० मिटरमा कालोपत्रे पूरा भएको छ । रोलर मेसिन बिग्रिएका कारण केही भाग कालोपत्रे हुन बाँकी रहेको हो । कालोपत्रेमा उडान सुचारु गर्दै र बाँकी भागमा पछि कालोपत्रे
गरिने विमानस्थल कार्यालयले जनाएको छ ।
परीक्षणपछि नियमित उडान हुनेछ । यसबाट स्थानीयले राजधानीलगायत अन्य जिल्लामा जान रुकुम र जाजरकोटको सडक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हट्नेछ ।

Page 22
अर्थ वाणिज्य

तीन सातापछि जोगबनी नाका सुचारु हुने

- देवनारायण साह

मोरङ– जोगबनी नाका जोड्ने भारतको मिरगन्ज घाटस्थित ‘एनएच ५७ ए’ को प्रमाणा नदीको पुलको मर्मत सुरु भएको छ । आगामी दुई/तीन सातामा मर्मत भइसक्ने गरी काम थालिएको छ । पुल मर्मतलगत्तै जोगबनी नाकाबाट आयात–निर्यात नियमित हुने अधिकारीहरूले जनाएका छन् ।
साउन अन्तिम साता आएको बाढीले भारतमा रेलको पटरी बगाउँदा र उक्त पुलमा क्षति पुग्दा विराटनगर भन्सारबाट हुने आयात–निर्यात भदौ ४ देखि ठप्प भएको छ । सरकारले सुनसरी–मोरङ औद्योगिक कोरिडोरको आयात–निर्यात भारत सरकारबाट भीमनगर हुँदै भन्टाबारीबाट रि–रुट गराउन छुट दिएको छ । पुल मर्मतका लागि भारतको राष्ट्रिय राजमार्गको दरभंगाबाट आएको १५ जनाको टोली सोमबार काम सुरु गरेको स्थानीय राधेश्याम साहले बताए । पुल मर्मत कार्यमा संलग्न धर्मेन्द्र पासमानले पुलको पूर्वपट्टि धस्सिएकाले त्यसलाई उठाएर समान उचाइमा ल्याउनुपर्ने बताए ।
‘काम सुरु गर्‍यौं, अब सबै सामग्रीलगायत उपकरणहरू ठीक पारिसकेपछि प्राविधिक टोली आउँछ,’ उनले भने, ‘प्राविधिक टोलीको निर्देशनअनुसार पुल मर्मत हुन्छ ।’ पुल मर्मत हुन १५/२० दिनसम्म लाग्ने उनले बताए ।


पुल मर्मत कार्यमा संलग्न अर्का कामदार अर्जुन पासमानले इस्ट इन्डिया कम्पनीले बनाएको फलामको खम्बा हालेको यस्ता पुलहरू पुराना भएर भासिन थालेको सुनाए । आफूहरूले तत्काल मर्मत गरेर फर्किन सक्छौं तर भार क्षमता बढी भएको सवारी साधन गुडेपछि पुन: धस्सिन सक्ने भएकाले राष्ट्रिय राजमार्ग विभागको प्राविधिक टोली आएपछि मात्रै आफूहरूले काम सम्पन्न गर्ने बताए ।
भारतको जोगबनी थानाका प्रहरीले पुलबाट सवारी साधन अवागमनमा रोक लगाएका छन् । प्रहरीले हलुका सवारी साधन मोटरसाइकल, सिटी रिक्सा, कार, जिपलाई यात्रु ओरालेर आवतजावत गर्न दिइरहेको छ । भारतीय प्रहरीले कुनै पनि बढी भार क्षमता भएको सवारी साधन अवागमनमा रोक लगाएको स्थानीय रामप्रसाद झाले बताए ।
बाढीले बगाएको जोगबनी आउने रेलको पटरी मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । भारतीय रेल्वे विभागले सिघ्र मर्मत कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको जोगबनी कस्टमका प्रमुख डेपुटी कमिस्नर पवन कुमारले बताए । मर्मत कार्यमा संलग्न प्राविधिकहरूले आफूहरूले जोगबनी रेल्वे स्टेसनसम्म रेल कुदाएर परीक्षण गरिसकेको जनाए । उनीहरूले आफूहरूले बिहीबारसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहे पनि २/३ दिन थप समय लाग्न सक्ने बताए ।
बाढीले जोगबनीदेखि दक्षिण ४ सय ५० किलोमिटर रेलको पटरी बाढीले बगाएको रेल्वे सेवाका अधिकारीहरूले बताए ।
सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरूका लागि आउने कच्चा पदार्थ र उद्योगहरूमा उत्पादन हुने निर्यातजन्य वस्तु आयात–निर्यात भन्टाबारीबाट वैकल्पिक रूपमा सुरु गरिए पनि लागत बढेको व्यापारीहरूले गुनासो पोख्ने गरेको विराटनगर भन्सारका प्रमुख कृष्ण बस्नेतले बताए ।
उनले भन्टाबारीबाट मालबाहक सवारी साधन विराटनगर भन्सारसम्म आइपुग्दा झन्डै १ सय ५० किलोमिटर बढी दूरी हुने गरेकाले भारतको कोलकातामा नै ढुवानी भाडामा २ सय प्रतिशत वृद्धि भएकाले व्यापारीहरू मर्कामा परेको सुनाए । जोगबनी नाकाबाट आयात–निर्यात सहज नभएकाले भन्सार असुली पनि निकै घटेको उनले बताए । साउनमा २ अर्ब १८ करोड ७१ लख ४१ हजार लक्ष्य रहेकामा १ अर्ब ७० करोड ६७ लाख ५५ हजार र भदौमा २ अर्ब ४९ करोड ९५ लाख ९० हजार लक्ष्य रहेकामा आइतबारसम्ममा ८३ करोड ६७ लाख ३९ हजार मात्रै भन्सार असुली भएको उनले सुनाए । उनले दैनिक ८ करोड भन्सार असुली गर्नुपर्ने लक्ष्य रहेकामा ४ करोड मात्रै भइरहेको सुनाए ।

Page 23
खेलकुद

युवा विधामा कडा प्रतिस्पर्धा

स्पोर्ट्स अवार्ड २०७३

काठमाडौं (कास)– पल्सर स्पोर्ट्स अवार्ड २०७३ मा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, जुडोकी मनिता श्रेष्ठ प्रधान, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीबीच कडा प्रतिस्पर्धा देखिएको छ । मनोनयनमा परेका यी पाँचमध्ये एकले सोमबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा अवार्ड जित्ने छन् ।

स्कुले विद्यार्थी छँदै राष्ट्रिय टिमकी मुख्य खेलाडीमा स्थापित प्रतिभाका लागि गत वर्ष यादगार रह्यो । मालेमा सम्पन्न महिला विश्वकप छनोटमा उनले सेकेन्ड बेस्ट आउटसाइड अट्याकरको पुरस्कार प्राप्त गरेकी थिइन् । त्यसमा आयोजक माल्दिभ्सलाई पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन देखाइन् ।

न्यु डायमन्ड एकेडेमीलाई चार उपाधि दिलाउन मुख्य भूमिका उनकै थियो । उनको टिम डायमन्ड खुला भलिबल (लामाचौर), एनभीए क्लब च्याम्पियनसिप छनोट, आईजीपी कप र दिदीबहिनी कप (कुश्मा) मा च्याम्पियन भएको थियो । उनी चार प्रतियोगितामा सर्वोत्कृष्ट, ढोरपाटन लिगमा लोकप्रिय, शेरबहादुर स्मृतिमा स्पेसल अवार्ड र पोखरा महिला भलिबलमा बेस्ट स्पाइकर जित्न सफल भएकी थिइन् । उनी माल्दिभ्सको मिस्किमागुबाट खेल्दै अल मुदिस वुमेन्स नेसनल च्याम्पियनसिपमा विजेता बन्ने क्रममा सर्वोत्कृष्ट विदेशी खेलाडी र चारपल्ट क्वीन अफ द म्याच पनि भएकी थिइन् ।

लगातार दोस्रो वर्ष युवा खेलाडीको मनोनयनमा परेकी मनिताले कोचीमा १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा तीन खेलाडीलाई हराएर कांस्य जितेकी थिइन् । उनी १२ औं सागकी रजत विजेता पनि हुन् । उनले सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका स्मृति र ओलम्पिक डे सिनियर जुडोमा पनि स्वर्ण जितेकी थिइन् । अम्बिका स्मृतिकी सर्वोत्कृष्ट उनले उज्वेकिस्तानमा सम्पन्न एसियन जुडो च्याम्पियनसिप पनि खेलेकी थिइन् ।

नेपाली क्रिकेटका नयाँ प्रतिभा हुन्, दीपेन्द्र । उनले बितेको वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि चार अर्धशतकसहित सर्वाधिक ३ सय ५७ रन बनाए । र, ४ विकेट पनि लिन सफल भए । उनले राष्ट्रिय टिमबाट ५ खेलमा तीन अर्धशतकसहित २ सय ११ रन जोडेका थिए । उनले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँग ६२ रन, इमर्जिङ टिम्स कपमा बंगलादेशविरुद्ध ५६ रन र हङकङविरुद्ध नटआउट ६० रन जोडेका थिए । यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध ९० रन पनि बनाए ।
राष्ट्रिय फुटबल टिमका सेन्टरब्याक अनन्तले नेपाललाई सोलिडारिटी कप च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान गरे । उनको गोल र उत्कृष्ट बचाउसँगै नेपालले सेमिफाइनलमा लाओसलाई २–२ को बराबरीपछि टाइब्रेकरमा हराएर फाइनल तय गरेको थियो । गत वर्ष घुँडाको शल्यक्रिया गरेर पनि खेलमा पुनरागमन गरेका उनले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

सुनसरीकी भारोत्तोलक कमलाले २०७३ सालमा चार राष्ट्रिय कीर्तिमान बनाइन् । आर्मीकी उनले जापानमा युथ एन्ड जुनियर एसियन भारोत्तोलनमा कुल १ सय ४० केजी उचाल्दै सिनियरकै कीर्तिमान तोडेकी थिइन् भने सातौं राष्ट्रिय खेलकुदमा तीन कीर्तिमानसहित स्वर्ण जितिन् । पाँचौं ग्राँ प्रिमा स्वर्ण जितेकी उनले १२ वर्ष पुरानो झन्ट कटवालको कीर्तिमान पनि तोडेकी हुन् ।

खेलकुद

शीर्ष खेलाडीको जित जारी

काठमाडौं (कास)– दोस्रो जेस्ट खुला ब्याडमिन्टन प्रतियोगितामा बुधबार पुरुष एकलतर्फ नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङ क्वाटरफाइनल पुगेका छन् । आर्मीका उनले एपीएफका विजित थापामगरलाई २१–९, २१–४ ले हराए ।
एपीएफका सुदीप सेंढाई र साजनकृष्ण ताम्राकार, पुलिसका बिष्णु कटवाल र दीपेश धामी, कम्प्लिट हेल्थका जीवन आचार्य, आर्मीका नवीन श्रेष्ठ र कैलालीका सन्जिव खड्का पनि क्वार्टरफाइनल पुगेका छन् ।

सुदीपले पुलिसका गौतम कठायतलाई २१–१४, २१–१५ ले, साजनले शेर्पा ट्रेडर्सका प्रिन्स दाहाललाई २१–१७, २१–१६ ले, विष्णुले शेर्पाकै सुनील जोशीलाई २१–१४, १३–२१, २२–२० ले र दीपेशले एपीएफका सुमन लिम्बूलाई २१–१५, २१–१२ हराए । जीवनले पुलिसका दीपक बोहरालाई २२–२०, २१–१९ ले र नवीनले कम्प्लिटका नीरविक्रम देवकोटालाई २१–१४, १७–२१, २१–९ ले हराए ।
आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको बसुन्धारास्थित कोर्समा महिला एकलतर्फ आर्मीकी नेपाल नम्बर एक नङसल तामाङ, रसिला महर्जन, अनुमाया राई र अमिता गिरी सफलता पाउँदै क्वाटरफाइनलमा पुगेका छन् । उक्त स्थानमा पुग्ने अन्य खेलाडीमा एसएससी विराटनगरकी नीता लम्साल, कास्कीकी पूनम गुरुङ, आयोजककी जेसिका गुरुङ र भोजपुरकी सीता राई छन् ।

यू–१७ ब्वाइजतर्फ शेर्पा ट्रेडर्सका प्रिन्स दाहाल, आर्मीका विशाल खड्का, पविन लिनथेप, रुकेश महर्जन र प्रफुल महर्जन, नेपालगन्ज ब्याडमिन्टनका सहरोज अन्सारी र शिव थापा तथा आयोजकका सियोन पेन्जोर केम्पे पनि क्वाटरफाइनल पुगेका छन् ।

खेलकुद

किक–अफ र सामाखुसी सेमिफाइनलमा

काठमाडौं (कास)– घरेलु टोली चौर रिक्रिएसन सेन्टरलाई पराजित गर्दै एक्सटेप किक–अफ फुटसल बिहीबार राष्ट्रिय रेडबुल फुटसल लिग च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । किक–अफले चौर (तस्बिरमा) लाई ८–२ ले पराजित गर्दा पहिलो हाफमै ५ गोल गरेको थियो । विजेताबाट उत्कृष्ट प्रदर्शन गरेका राज शाही म्यान अफ द म्याच भए ।

दोस्रो क्वाटरफाइनलमा सामाखुसीले स्वयम्भूलाई १२–४ को फराकिलो अन्तरले हरायो । सामाखुसीका लागि आर्मीबाट व्यावसायिक फुटबल खेल्दै आएका सन्तोष तामाङ म्यान अफ द म्याच भए ।‘ए’ डिभिजनका खेलाडीको बाहुल्यता रहेको डिभाइन बिजी फुटसल भने स्तुपा फुटसलसँग ६–४ ले पराजित हुँदै बाहिरियो । अन्तिम क्वाटरफाइनलमा शंखमूलले धन्यन्तरीलाई १०–० ले हरायो । दुवै हाफमा ५–५ गोल गर्दै शंखमूलले सेमिफाइनलमा स्थान बनायो ।शुक्रबार सेमिफाइनलमा अपराजित सामाखुसीले शंखमूलको सामना गर्नेछ भने स्तुपाको किक–अफसँग हुनेछ । दुवै सेमिफाइनल चौर रिक्रिएसन सेन्टरमा खेलाइने छ । लिग विजेता टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्ने छन् ।
उत्कृष्ट प्रदर्शन गर्ने ४ विधाका खेलाडी (गोलरक्षक, डिफेन्स, मिडफिल्ड र फरवार्ड) सँगै उत्कृष्ट प्रशिक्षकले जनही २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

Page 24
खेलकुद

अघि बढ्दै नाडल

यूएस ओपन टेनिस

न्यूयोर्क (एएफपी)– अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोट्रोले पाँच पटकका यूएस ओपन च्याम्पियन रोजर फेडेररलाई क्वाटरफाइनलमा पराजित गरेका छन् । बुधबार स्विस खेलाडी फेडेररले २००९ का च्याम्पियन डेल पोट्रोसँग ७–५, ३–६, ७–६ (१०/८), ६–४ ले पराजय भोगे । यस जितसँगै पोट्रोले सेमिफाइनलमा राफेल नाडलको सामना गर्नेछन् । अहिलेसम्म एकमात्र ग्रान्डस्लाम जितेका २८ वर्षीय पोट्रोले सन् २००९ मा यूएस ओपन उपाधि जित्दा स्पेनिस नाडललाई सेमी र फेडेररलाई फाइनलमा हराएका थिए ।
विश्व नम्बर एक नाडलले रसियाली युवा आन्द्रे रुब्लेभलाई ६–१, ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पक्का गरेका थिए । नाडलको यो छैटौं यूएस ओपन र समग्रमा ग्रान्ड स्लामको २६ औं सेमिफाइनल हो । यता डेल पोट्रो भने चौथो पटक ग्रान्ड स्लाम सेमिफाइनल खेलिरहेका हुनेछन् ।महिलामा सबै अमेरिकी
म्याडिसन किज र कोको भान्डेवेघे सेमिफाइनल पुगेसँगै सन् १९८१ यता पहिलो पटक महिलातर्फको अन्तिम चार खेल्ने चारै खेलाडी अमेरिकी हुने भएको छ । ३७ वर्षीया भेनस विलियम्स र स्लाने स्टेफेन्स यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।
बुधबार किजले इस्टोनियाकी काइया कानेपीलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरेकी हुन् । भान्डेवेघेले भने पहिलो वरीयताप्राप्त चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभालाई ७–६ (७/४), ६–३ ले पाखा लगाइन् ।

अन्तिम चार पुग्नेमध्ये भेनसले सात ग्रान्डस्लाम उपाधि जितेकी छिन् भने अन्य तीन खेलाडी पहिलो उपाधि जित्ने धुनमा छन् । तेस्रो यूएस ओपन उपाधि जित्ने दाउमा रहेकी भेनसलेसन् २००० र २००१ मा उपाधि जितेकी थिइन् ।
सेमिफाइनलमा भेनसले स्टेफेन्सको सामना गर्दै छिन् भने २० औं वरीयताकी भान्डेवेघेले ५ वरीयता माथिकी किजको चुनौती स्वीकार्ने छिन् । फाइनल शनिबार हुनेछ। यस वर्षको अस्ट्रेलियन ओपन जितेकी भेनस विम्बल्डनमा भने उपविजेता थिइन् ।

खेलकुद

नेपाली टिमको पराजय

बंगलादेशविरुद्धको खेलमा नेपालका अभिषेक सिंह (रातो) स्कोर गर्ने प्रयासमा । राखेप
काठमाडौं (कास)– नेपालले साबा यू–१६ मेन्स बास्केटबल च्याम्पियनसिपमा बिहीबार हार बेहोरेको छ । नेपाली टिम त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शारीरिक बलिया र अग्ला खेलाडीसम्मिलित बंगलादेशसँग ११ स्कोर अन्तरमा पराजित भयो । नेपाल ६८–५७ ले पराजित भयो ।
तेस्रो क्वाटर सकिँदासम्म घरेलु भूमिमा नेपाली खेलाडीले ४६–४१ को अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेनन् । चौथो क्वाटरमा बंगलादेश २७–११ ले अघि रहँदै विजयी भयो । त्यसमा तनविरले १८ स्कोर गरे । नेपालका अभिषेक सिंहले २३ स्कोर गरे । उनले भुटानविरुद्ध जित पाउँदा पनि २३ स्कोर नै बटुलेका थिए ।
आशिष बस्नेतले १०, सन्तोष खत्री र चिरञ्जीवी रोकायले ६–६, सयुन राईले ५, सुरेश बिक र आशिष भुजेलले ३–३ तथा सतिश लामाले १ स्कोरको योगदान दिए ।
स्पर्धामा भुटानले पनि पहिलो जित पाएको छ । भुटानले माल्दिभ्सलाई ६३–५४ ले हरायो । भुटानका छिरिङ देउजोरले १७ स्कोर गरे ।
सुरुका तीन क्वाटरमा भुटान २०–९, १८–१७, १३–९ को स्थितिमा थियो । माल्दिभ्सले अन्तिम क्वाटरमा १९–१२ को स्कोर बनाए पनि जितलाई पर्याप्त भएन ।
तेस्रो दिनको नतिजापछि भारतले २ खेलमा २ जित, बंगलादेशले ३ खेलमा २ जित, नेपालले २ खेलमा १ जित तथा भुटानले ३ खेलमा १ जित पाएका छन् । माल्दिभ्स तीनै खेलमा पराजित भइसकेको छ । शुक्रबार माल्दिभ्सले बंगलादेश तथा नेपालले उपाधि दाबेदार भारतसँग खेल्ने छन् ।
आयोजक नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले हारका बाबजुद नेपाली टोलीले बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रोत्साहनस्वरुप ४५ हजार रुपैयाँबाट पुरस्कृत गर्ने घोषणा गरेका छन् ।

खेलकुद

अस्ट्रेलियाद्वारा शृंखला बराबर

एलबीडब्लूको अपिल गर्दै अस्ट्रेलियाका नाथन लायन । एएफपीचित्तागोङ (एएफपी)– नाथन लायनको स्पिनमा अस्ट्रेलियाले बिहीबार दोस्रो तथा अन्तिम टेस्टमा बंगलादेशलाई ७ विकेटले पराजित गरी शृंखला १–१ को बराबरीमा टुंग्याएको छ । अफ स्पिनर लायनले १ सय ५४ रन खर्चेर कुल १३ विकेट लिँदै घरेलु टोलीलाई तहसनहस पारेका थिए ।

८६ रनको लक्ष्य अस्ट्रेलियाले चित्तागोङमा शीर्ष तीन ब्याट्सम्यान गुमाए पनि चौथो दिन खेलको अन्तिम सत्रमा मात्र पूरा गरेको हो । विजयी छक्का प्रहार गरेका ग्लेन म्याक्सवेल २५ र पिटर ह्यान्ड्सकोम्ब १६ रनमा नटआउट रहे । बंगलादेशले ढाकाको टेस्टमा ऐतिहासिक विजय हात पारी शृंखलामा अग्रता लिएको थियो ।
सिरिज जित्ने बंगलादेशको आशालाई लायनको स्पिन बलिङले घुमाइदिएको थियो । टेस्ट क्रिकेटमा यो उनको उत्कृष्ट बलिङ पनि हो । उनले लगातार तेस्रो पटक एकै इनिङ्समा ६ विकेट लिएपछि बंगलादेशको दोस्रो इनिङ्स १ सय ५७ रनमा सीमित भयो । उनले शृंखलामा कुल २२ विकेट लिए । दुई टेस्टको शृंखलामा अस्ट्रेलियाली बलरको यो सबैभन्दा बढी विकेट हो ।

ओपनर डेविड वार्नर पनि लगातार दुई शतक बनाउँदै प्रभावशाली रहे । उनले पहिलो इनिङ्समा बनाएको १ सय २३ रनमा अस्ट्रेलियाले ७२ रनको अग्रता लिएको थियो । ‘बेला बेलामा हामीले राम्रो क्रिकेट खेल्यौं, उनीहरूलाई पहिलो इनिङ्समा जुन स्कोरमा रोक्यौं त्यो हाम्रो सफलता थियो,’ स्टिभ स्मिथले लायनका बारेमा भने, ‘विकेटमा त्यस्तो केही चहलपहल थिएन । तर उनी असाधारण थिए ।’
लायनले ९४ रन खर्चेर ७ विकेट लिँदा अस्ट्रेलियाले बंगलादेशको पहिलो इनिङ्सलाई ३ सय ५ रनमा रोकेको थियो । ‘उनले राम्रो प्रयास गरेर सिरिजमा २२ विकेट लिए । तर यसको श्रेय बंगलादेशलाई दिनुपर्छ, उनीहरूले शृंखलामा हामीलाई निकै चुनौती दिए,’ स्मिथले भने । अस्ट्रेलियाले पहिलो इनिङ्समा ३ सय ७७ रन बनाएको थियो ।

बंगलादेशबाट कप्तान मुस्फिकर रहिमले १ सय ३ बलमा सर्वाधिक ३१ रन बनाए । तर लायनलाई रोक्न बंगलादेशका अन्य ब्याट्सम्यानलाई हम्मे–हम्मे पर्‍यो । बंगलादेशले ११ औं नम्बरका ब्याट्सम्यान लायनलाई दोस्रो ओभरमा आउट गरी दिनको खेल सुरु गरेको थियो । तिनै लायनले भोजन समयसम्म बंगलादेशलाई ८३–५ को स्थितिमा पुर्‍याइदिए ।

मुस्फिकर र सबिर रहमानले छैटौं विकेटमा ५४ रनको साझेदारी गरेपछि बंगलादेशको स्कोर हेर्नलायक बनेको हो । सबिरलाई २४ रनमा लायनले स्टम्पआउट गराएर यो साझेदारी तोडे । मुस्फिकरलाई प्याट कुमिन्सले आउट गरी बंगलादेशलाई घुँडा टेकाए । कुमिन्स र स्टिभ ओ’किफले २–२ विकेट लिए । अस्ट्रेलियाबाट दोस्रो इनिङ्समा वार्नर ८, म्याट रेनस २२ र स्मिथ १६ रनमा आउट भए । अस्ट्रेलियाले अब भारतसँग ५ वान डे अन्तर्राष्ट्रिय र तीन ट्वान्टी–ट्वान्टी खेल्नेछ ।

खेलकुद

वेस्ट इन्डिज अलआउट

लन्डन (एएफपी)– बेन स्टोक्सले ६ विकेट लिएपछि इङल्यान्डले तेस्रो टेस्टमा वेस्ट इन्डिजलाई १ सय २३ रनमा अलआउट गरेको छ । स्टोक्सले २२ रन खर्चेर ६ विकेट लिए । टेस्ट क्रिकेटमा आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गर्दै स्टोक्सले आफ्नो विकेटसंख्या ९५ पुर्‍याएका छन् । स्टोक्सको उत्कृष्ट प्रर्दशनपछि स्विङ बलर जेम्स एन्डरसन ४ सय ९९ विकेटमा अडिए । एन्डरसनले ओपनर क्रेग ब्रेथवेटलाई १० र तेस्रो नम्बरका केयल होपलाई शून्यमा आउट गरी ५ विकेट नजिक पुगेका थिए । तर त्यसपछि भने स्टोक्सले लगातार जसो विकेट लिएर वेस्ट इन्डिजलाई सस्तैमा आउट गरे । टोबी रोनाल्ड जोन्सले पनि इङल्यान्डबाट २ विकेट लिए ।
वेस्ट इन्डिजका लागि किइरन पोवेलले ३९, साई होपले २९, रोबर्ट चेजले १८ र देवेन्द्र बिसुले नटआउट १३ रन बनाए । शृंखला १–१ को स्थितमा छ ।

 

खेलकुद

इन्फरम्याटिक्स र स्याङजा विजयी

लेखनाथ (कास्की)– इन्फरम्याटिक्स कलेज चिताहले पोखरामा जारी माछापुच्छ्ेर क्रिकेट लिग (एमसीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार उसले आयोजक माछापुच्छ्ेर क्रिकेट क्लबलाई ६ रनले हरायो ।
घरेलु मैदानमा १ सय २२ रनको लक्ष्य पाएको माछापुच्छ्ेरले २० ओभरमा ६ विकेटमा १ सय १५ रनमात्रै जोड्न सक्यो । कप्तान दिपेश खत्रीले अविजित ४२ र अमित क्षेत्रीले १९ रन बनाए । इन्फरम्याटिक्सका विनय भण्डारीले २ विकेट लिए । टस जितेको इन्फरम्याटिक्सले ७ विकेट गुमाएर १ सय २१ रन जोड्यो । विनय भण्डारीले ४४ र किरण पुनले २१ रन जोडे । माछापुच्छ्ेरका अमित क्षेत्रीले ४ विकेट लिए । विनय प्लेयर अफ द म्याच भए ।
बिहीबारै केकेएएफ स्याङजा च्यालेन्जर्सले डाउनटाउन लायन्स पोखरालाई २ रनले हरायो । १ सय २२ रनको लक्ष्य पाएको डाउनटाउनले २० ओभरमा ९ विकेट गुमाई १ सय १९ रनमात्र बनायो । ३ विकेट लिएका स्याङजाका अशोक श्रेष्ठ प्लेयर अफ द म्याद भए ।

खेलकुद

किसुनजी स्मृति फुटबल

काठमाडौं (कास)– नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको सम्झनामा किसुनजी स्मृती भेट्रान कप सिक्स ए साइड नकआउट फुटबल हुने भएको छ ।
आयोजक सदाबहार खेलकुद समाजले ३१ देखि असोज ७ सम्म हुने प्रतियोगितामा विभिन्न क्लब तथा टिमको सहभागिता रहने जनाएको छ ।
कपनस्थित ह्यान्डबल मैदानमा हुने प्रतियोगिता विजेताले ५० हजार र उपविजेताले २५ हजार जित्ने छन् । विधागत उत्कृष्टले जनही ५ हजार पाउने छन् ।

 

खेलकुद

मनाङ सेमिफाइनलमा

जेसिज कप फुटबलमा बिहीबार प्रतिस्पर्धा गर्दै मनाङ र झापा (सेतो)
का खेलाडी । तस्बिर : विमल खतिवडा/कान्तिपुर

चितवन (कास)– सिधै बाई पाएर क्वाटरफाइनल खेलेको मनाङ–मस्र्याङदी क्लब प्रथम ई–प्लानेट जेसिज कप राष्ट्रिय फुटबलमा बिहीबा झापा ११ लाई टाइब्रेकरमा ५–३ ले हराउँदै सेमिफाइनल पक्का गरेको छ । दर्शकको साथ पाएको झापाका खेलाडीले खेल अवधिभर लय छाडेनन् ।
खेलको २८ औं मिनेटमा मनाङका सुजल श्रेष्ठले पहिलो गरे । मनाङको गोलसँगै झापा दबाबमा पऱ्यो । खेलको ६० औं मिनेटमा मनाङका अनन्त तामाङको पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि झापाले पेनाल्टी पायो । त्यसमा झापाका कर्ण लिम्बूले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ५ मिनेटपछि उनै कर्णले झापालाई अग्रता दिने मौका चुकाए । उनको हेड प्रहार विफल हुँदा दर्शक चुकचुकाएका थिए ।
खेल बराबरीपछि टाइब्रेकरमा मनाङलाई सफलता मिल्यो । सुजल श्रेष्ठ, अन्जन विष्ट, कमल श्रेष्ठ, विमल बस्नेत र डोना थापा गोल गर्न सफल भए । झापाबाट कर्ण लिम्बू, बुद्ध चेम्जोङ, रवि थापामगरले गोल गरे पनि दिलेन लोक्तानको प्रहार असफल भयो ।
मनाङले शनिबार विजय युथ क्लव हेटौंडासँग प्रतिस्पर्धा गर्नेछ । मनाङका सुजल श्रेष्ठ म्यान अफ द म्याच भए । उनले ५ हजार पुरस्कार पाए ।
‘मनाङका ९ खेलाडी राष्ट्रिय थिए,’ झापाका टिम म्यानेजर भीमराज केसीले भने, ‘तर हाम्रा खेलाडीले राम्रो खेले, चर्को गर्मी भए पनि टिकेर खेले ।’ उनले राम्रो खेलेकाले दु:ख मान्नुपर्ने अवस्था नरहेको बताए ।
मनाङ मस्र्याङदीका प्रशिक्षक विजय घलेले जित पाए पनि खेलाडीले सोचेजस्तो खेल्न नसकेको बताए । ‘खेल सोचेजस्तो भएन, खेलाडीको तालमेल नै मिलेन,’ उनले भने, ‘धेरै खेलाडीले एसियन कप छनोट खेलेकाले थकित नै थिए । त्यसैले राम्रो खेल्ने सकेनौं । सेमिफाइनलमा राम्रो खेल्ने छौं ।’ शुक्रबार पहिलो सेमिफाइनलमा एपीएफ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुनेछ ।

Page 28
हेल्लो शुक्रवार

सर्कस टु सर्कस

स्कुल जाने उमेरमा भारतको सर्कसमा पुर्‍याइएका नेपालीहरु उद्धार गर्ने क्रम अहिले पनि जारी छ । उद्धार गरी ल्याइएको एक समूहले सर्कसलाई फर्फरमिङ आर्ट्सका रुपमा सात वर्षअघि सुरू गरेका थिए । अहिले उनीहरु यसैमा करिअर बनाउँदै छन् ।
- राजु घिसिङ
तस्बिरहरू : हेमन्त श्रेष्ठ

सर्कस ∕ जब यो शब्द सुनिन्छ, आङ नै सिरिंग हुन्छ । किनभने दसौं हजार नेपाली बालबालिका भारतको सर्कसमा फसेका छन् । अर्को कारण : सर्कसमा पर्फरमेन्स पनि त्यस्तै खालको हुने गर्छ, जुन कला धेरैले गर्न सक्दैनन् ।

बेलबारी, मोरङका विजय लिम्बू आठ वर्षको छँदा सर्कसमा काम गर्न मद्रास पुगेका थिए । अहिले २५ वर्षका उनले भने, ‘दलालले घरमै पढ्न पाइन्छ, राम्रो लुगा लाउन र मीठो खाना पाइन्छ भनेर मलाई फकाएर लगेको थियो । तर त्यहाँ पुगेपछि भनेजस्तो केही भएन ।’ मुम्बई सर्कसमा चार वर्ष रहेपछि उनलाई उद्धार गरिएको थियो ।

स्कुल पढ्ने उमेरमा विजयले सर्कसमा दैनिक १८ घण्टा काम गर्नुपरेको थियो । आराम जम्मा ६ घण्टा । कति गाह्रो हुँदो हो ? सोच्दा नै अत्यास लाग्छ । मद्रासमा दैनिक तीन शोसम्म गरेका उनले घर फर्कंदा चार वर्षको तलब भारु ३० हजार (नेपाली ४८ हजार रुपैयाँ) पाएका थिए । ‘दलालले भनेजस्तै हुन्छ र केही पाइन्छ भनी खुसीसाथ गएको थिएँ तर सर्कसभित्र पसेपछि पस्यापस्यै भइयो । फर्कने चान्स थिएन । बाहिर निस्कने पनि मौका थिएन । चार वर्ष बस्दा जम्मा दुईपल्ट सर्कसबाहिर घुमाउन लगिएको थियो । नत्र काम–ट्रेनिङ–काम–ट्रेनिङ ।’ उनीसँगै मुम्बई सर्कसबाट ११ केटा र ६० केटी उद्धार गरिएको थियो । त्यसमा धेरै नेपाली थिए ।

स्वदेश फर्केर गोदावरीस्थित एक होस्टलमा बसेका उनले एसएलसी परीक्षासम्म दिए । सर्कसमा सिकेको कलालाई उनले जिम्न्यास्टिक प्रतियोगितामा उपयोग पनि गरे । पाँचौं राष्ट्रिय खेलकुद २०६५ मा २ रजत र २ कांस्यपदक हात पारे भने छैटौं संस्करण २०६८ मा स्वर्ण पदक नै जिते । त्यसयता उनी प्रतियोगितामा सहभागी भएनन् । उनले नेपालको जिम्न्यास्टिकमा करिअर देखेनन् र फेरि सर्कसमै फर्किए । भारत गएनन्, दलालको फन्दामा पनि परेनन् । ‘बाध्यतावश भए पनि सर्कस जानियो । सिकेको सीप त्यही हो । यसैलाई व्यावसायिक रूपमा किन अगाडि नबढाउने भन्ने लाग्यो,’ उनले भने ।

सर्कसबाट रेस्क्यु गरी फर्केकाहरूका लागि सात वर्षअघि एउटा वर्कसप भएको थियो । एक महिने वर्कसपमा २३ जना सहभागी थिए । त्यसमा सर्कसमा सिकेका कलालाई करिअरका रूपमा लानेमा जोड दिइएको थियो । वर्कसपमा सहभागीहरूले नक्खु र टौखेलमा पर्फरमेन्स गरे । वाहवाही पाए । त्यसले सर्कसमै अर्को करिअरको सम्भावना देखाइदियो । र, १३ जना मिलेर सन् २०१० मा संस्था नै बनाए– सर्कस काठमान्डु ।

नेपालको पहिलो र हालसम्मको एकमात्र सर्कस कम्पनी ‘सर्कस काठमान्डु’ नै हो । यसमा संस्थापकमध्ये विजय, सरस्वती अधिकारी, शर्मिला लामा, सुनिता (शीतल) घिमिरे र डली (डोली) तामाङ अहिले पनि सक्रिय छन् । विजयबाहेक चारै जना विवाहित हुन् र उनीहरू परिवार सम्हाल्दै पर्फरमिङ आर्ट्समा निरन्तर छन् । उनीहरूले यसलाई परिचय बदल्ने अवसरका रूपमा लिएका छन् ।

‘भारतबाट फर्केर ठीक गरेजस्तो लाग्छ किनभने यहाँ फ्रिडम छ । उता (भारत) अरूले भनेजस्तो गर्नुपथ्र्यो, भएन भने कुट्थे । यहाँचाहिँ कला मात्रै देखाउँदा पुग्छ । पर्फरमर, आर्टिस्ट भनेर चिनिँदा आफंैलाई प्राउड लाग्छ,’ मनहरी ज्यामिरे, मकवानपुरकी २५ वर्षीय शीतलले भनिन् ।

उनी भारतमा पुग्दा कति वर्षकी थिइन् भन्ने यादै छैन । ‘अकोला भन्ने ठाउँमा पुगेको थाहा छ तर यो कहाँ पर्छ भन्ने पत्तो छैन । त्यहाँ लगेर हजुरआमा र बुबाले सर्कसमा हालेको मात्र याद छ,’ राजमहल सर्कसमा बिताएको नौ वर्ष स्मरण गर्दै उनी भावुक भइन्, ‘हामी ५०–६० जना थियौं । धेरै नेपाली थिए । अरू असम, बंगलादेशका । १५ वर्षमुनिकालाई रेस्क्यु गर्दा सर्कस नै खाली भयो ।’ सन् २००८ मा रेक्स्यु गरिएकी उनले थपिन्, ‘म सानै छँदा आमा बित्नुभएको थियो । मलाई सर्कसमा छाडेपछि घरका मान्छे कहिल्यै भेट्न आएनन् । त्यसैले मेरो कोही छैन भन्ने लागेको थियो । धेरै कुटाइ खाए पनि त्यहाँ बानी भइसकेको थियो । उतै रमाइलो लाग्न थालेको थियो । रेस्क्यु गर्दा पनि आउने मन थिएन, जबर्जस्ती आएँ ।’

स्वदेश फर्केर फेरि सर्कसमा लागेपछि पर्फम गर्न बेलायत जाने अवसर मिल्यो । त्यसका लागि पासपोर्ट चाहियो, जसले उनको परिवारसँग पुनर्मिलन गरायो । पाँच वर्षयता दसैंमा घर जाने गरेकी उनले भनिन्, ‘घरमा मलाई पहिले थाहा थिएन, छोरीलाई सानैमा पठाएर गल्ती भयो भन्नुहुुन्छ ।’ उनी अब करिअरकै रूपमा सर्कसलाई निरन्तर अगाडि बढाउने योजनामा छिन् । भन्छिन्, ‘फर्केपछि समाजमा घुलमिल थिएन । कसैलाई चिन्दैन थिएँ, कसैले चिन्दैन थियो । जब सर्कस सुरु गर्‍यौं तब हामी समाजमा पनि प्रवेश गर्‍र्यौं । अहिले हामीलाई आर्टिस्ट भनेर चिन्छन्, बोलाउँछन् ।

साह्रै खुसी लाग्छ । त्यसैले यसलाई करिअरकै रूपमा लाने योजना छ ।’

कटारी, उदयपुरकी २२ वर्षीया डलीका पति ड्राइभिङ गर्छन् । उनको तीन वर्षकी छोरी छन् । गत वर्ष फेरि सर्कसमा फर्केकी उनी भन्छिन्, ‘सर्कसमा फर्कंदा सुरुमा गाह्रो भयो । त्यसैले उहाँ (पति) सर्कस नगर्नू भन्नुहुन्छ । जानेको कला उपयोग गरौं भनी आफ्नै खुसीले सर्कसमा फर्केकी हो ।’

उनलाई सात वर्षको छँदा दलालले बाआमासँग कुरा गरेरै केरलाको ग्रेट इन्डिया सर्कसमा पुर्‍याएको थियो । त्यहाँ दुई वर्ष बसेकी उनले भनिन्, ‘सुरुमा माया गर्ने रहेछ । दलालले भनेजस्तै राम्रो हो भन्ने लाग्यो । तर पछि गाह्रो हँुदै गयो । फर्केर मम्मी, ड्याडी, दिदीबहिनीलाई भेट्न पाउँदा साह्रै खुसी लाग्यो । उनीहरू मलाई फेरि त्यही काम गरेको भनी सम्झाउँछन् । तर म अहिले बाध्यता होइन, आर्टिस्ट बनेर आएकी छु । आफैंलाई राम्रो लाग्छ । यो एउटा कला हो, गर्नुपर्छ ।’

‘पुरानो दाग मेटाउन सकियोस् भनी सर्कसमै लागेको हो तर त्यो जीवन र यो जीवनमा धेरै फरक छ,’ लामो श्वास लिँदै विजयले भने, ‘पहिले कसैले मतलव गर्दैनथे । टिकट किनेर आउनेले ताली बजाएर सकिन्थ्यो । फ्रिडम थिएन, अहिले छ । अहिले पर्फरमर भन्छन् । सबैले रेस्पेक्ट गर्छन् । आफूलाई गर्व लाग्छ ।’ उनले थपे, ‘महाभूकम्पपछि सर्कसमा भारत जाने नेपाली बालबालिका धेरै बढेका छन् । त्यसलाई रोक्न चाहन्छौं । आफैं जान चाहनेलाई पनि त्यो स्तरको ट्रेनिङ यहीं दिन सके उनीहरू रोकिन्छन् । हामी यसमा पनि लागेका छौं । हामी यहीं व्यवस्थित रूपले सर्कस सञ्चालन गर्न सक्छौं ।’
मकवानचुली, मकवानपुरकी २८ वर्षीया सरस्वती अधिकारी भन्छिन्, ‘सर्कस कतिले नराम्रो भन्छन् । इन्डिया गयो कि ट्राफिकिङमा परेको ठान्छन् । त्यसैले हाम्रो समाजको सर्कस आर्टिस्टलाई हेर्ने दृष्टिकोण बदल्न पनि इन्डियामा सिकेको कला यहाँ सुरु गरिएको हो ।’ उनीहरू सोमबारदेखि शुक्रबारसम्म दैनिक साढे चार घण्टा झम्सीखेलमा अभ्यास गर्छन् ।

अहिले सर्कस काठमान्डुमा विजय संयोजक छन् । सरस्वती एडभोकेसी गर्छिन् । शर्मिला कोषाध्यक्ष हुन् । विभिन्न कार्यक्रममा पर्फम गर्दा लिने पारिश्रमिक नै उनीहरूको आम्दानी भएको प्रोग्राम एसोसिएट म्यानेजर सपना सुब्बाले बताइन् । ‘हाम्रो मुख्य उद्देश्य ह्युमन ट्राफिकिङविरुद्ध जनचेतना फैलाउनु हो । बिहे, बर्थडे, पार्टी, मेलामा पर्फम गर्दा पाउने पारिश्रमिक नै हाम्रो कमाइ हो ।’ सर्कस एक्ट सिकाएर पनि आम्दानी गर्न थालेको सर्कस काठमान्डुले यूके, अस्ट्रेलिया, दुबई र नर्वेमा पनि प्रदर्शन गरिसकेको छ । आधुनिक सर्कस फ्युजन आर्ट पनि हो । त्यसैले यसप्रति पार्कर लगायत अरूका आर्टिस्टहरू पनि आकर्षित भएका छन् ।

Page 29
हेल्लो शुक्रवार

फुटबलका ५ महँगा ट्रान्सफर

तस्बिरहरू : रोयटर्स

नेयमार, ब्राजिल
२२ करोड २० लाख युरो
बार्सिलोना → पेरिस सेन्ट जर्मेन (२०१७)


ब्राजिली राष्ट्रिय टिमका कप्तान नेयमारको ट्रान्सफर निकै रोमञ्चक रह्यो । खेलाडी आफैंले क्लब छाड्न चाहेपनि बार्सिलोना र स्पेनिस लिगले उनलाई फ्रान्सेली क्लब पठाउन मानिरहेको थिएन । पीएसजीले विश्वकै सर्बाधिक महँगो रिलिज क्लज तिरेर भित्र्याएका नेयमारले क्लब मात्र नभएर समग्र फ्रान्सको लिगकै विकासमा पनि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।
पीएसजी करिअर
खेल : ३ गोल : ३ असिस्ट : ३

पउल पोग्बा, फ्रान्स
१० करोड ५० लाख युरो
युभेन्ट्स → म्यानचेस्टर युनाइटेड (२०१६)

म्यानचेस्टर युनाइटेडले आफ्नै एकेडेमीका खेलाडीलाई पुन: क्लबमा भित्र्याउन रेकर्ड ब्रेक नै गर्नुपर्‍यो । एलेक्स फर्गुसनको समयमा खासै खेल्ने अवसर नपाएपछि पोग्बा ओल्ड ट्राफोर्ड छाडेर युभेन्ट्स पुगेका थिए । टुरिन क्लबको लागि उत्कृष्ट प्रदर्शन गरेपछि उनी फेरि युनाइटेडको टार्गेट बने । प्रशिक्षक जोसे मोउरिन्होले भित्र्याएको पहिलो सिजनमै उनले युनाइटेडलाई लिग कप र युरोपा लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
म्यानचेस्टर युनाइटेड करिअर
खेल: ५५ गोल: ११ असिस्ट: ७

 

ओस्मान डेम्बेले, फ्रान्स
१० करोड ५० लाख युरो
बोरुसिया डर्टमुन्ड → बार्सिलोना (२०१७)

नेयमारको प्रस्थानपछि बार्सिलोनाले डेम्बेलेलाई आफ्नो मुख्य टार्गेट बनाएको थियो । तर डर्टमुन्डले पटक–पटक बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेपछि खेलाडी आफैंले सरुवाका लागि क्लबलाई दबाब दिएका थिए । त्यसैले क्लबले उनलाई निलम्बन पनि गर्‍यो । अन्तत: डर्टमुन्डले २० वर्षीय डेम्बेलेलाई बार्सिलोना पठायो । दुवै खुट्टा उत्तिकै चलाउने उनी अघिल्लो सिजनमात्र जर्मनी पुगेका थिए । डर्टमुन्डले उनलाई १ करोड ५० लाख युरोमा फ्रान्सको रेनेसबाट किनेको थियो ।
उनले बार्सिलोनाबाट डेब्यु गर्न बाँकी छ ।


गारेथ बेल, वेल्स
१० करोड १० लाख युरो
टोटेनहम → रियल म्याड्रिड (२०१३)

लेफ्ट–ब्याकबाट करिअर सुरु गरेका वेल्स विंगर बेलले टोटेनहमबाट लगातार उत्कृष्ट प्रदर्शन गरेसँगै विश्वका ठूला क्लबका नजर परेको थियो । प्रिमियर लिगमा टोटेनहमलाई बलियो बनाउन सहयोग गरेका उनी त्यसबेलाको विश्व कीर्तिमानी रकममा म्याड्रिड पुगेका थिए । उनले इङ्ल्यान्डमा २ सय ३ खेलमा ५६ गोल गर्दै थप ५८ गोलमा फाइनल पास दिएका थिए । त्यसै लयलाई उनले म्याड्रिडमा पनि कायम राख्दै क्लबलाई ३ पटक च्याम्पियन्स लिग उपाधि जिताएका छन् ।
रियल म्याड्रिड करिअर
खेल: १५४ गोल: ६८ असिस्ट: ५३

 

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल
नौ करोड ४० लाख युरो
म्यानचेस्टर युनाइटेड → रियल म्याड्रिड (२००९)

क्लब फुटबलमा विश्वका सर्वाधिक सफल खेलाडीमध्येका रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट एकै सिजनमा ४२ गोल गरेपछि चर्चाको शिखरमा पुगेका थिए । त्यसैले उनका लागि सन् २००९ मा रियल म्याड्रिडले विश्व कीर्तिमानी मूल्य लगाएको थियो । उनको स्वागतका लागि रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा ८० हजार समर्थक उपस्थित भएका थिए । उनले त्यसयता व्यक्तिगत र क्लबका लागि थुप्रै उपाधि जितेका छन् । कप्तानी गर्दै पोर्चुगललाई युरोपेल च्याम्पियन बनाएका उनी कीर्तिमान पाँचौंपल्ट बेलन डि’अरका दाबेदार हुन् ।
रियल म्याड्रिड करिअर
खेल: ३९६ गोल: ४०७ असिस्ट: १२५

हेल्लो शुक्रवार

रिपोरेन्जा डिलामोडा

तस्बिरहरू : महेश प्रधान

काठमाडौंको फेसन दुनियाँ पनि चलायमान छ । हरेक साता शोहरू भइरहेको हुन्छ । याक एन्ड यतीमा शनिबार सम्पन्न रिपोरेन्जा डिलामोडा अर्थात् सेलेब्रेसन अफ फेसन वास्तवमा नयाँ डिजाइनरहरूको परीक्षा थियो ।

नमुना कलेज अफ फेसन डिप्लोको १२ औं ब्याचका ५७ जनाले तयार पारेका ड्रेसलाई कोरियोग्राफर रोजिन शाक्यको निर्देशनअनुसार मोडलहरूले ६ सिक्वेन्समा प्रस्तुत गरेका थिए । उनीहरूको प्रोजेक्ट वर्क साढे तीन घण्टासम्म चलेको थियो ।

डलहरूका लागि तयार पारिने जापानको लोलितालाई पहिलो सिक्वेन्समा प्रस्तुत गरिएको थियो । त्यसपछि इन्डो–वेस्टर्न फ्युजन, स्ट्रिट वेयर हुँदै ज्ञानीशोभा तुलाधरप्रति समर्पित ब्युटी–बिन र कर्पोरेट ड्रेस पस्किएको थियो । क्रिएटिभ डिजाइनमा मरिन थिमको अन्तिम सिक्वेन्ससँगै रिपोरेन्जा डिलामोडा टुंगिएको थियो ।

हेल्लो शुक्रवार

लक्जरी मल्बेरी

क्याफे
- सुरज कुँवर
तस्बिरहरू : इलिट जोशी

अव्यवस्थित सहरीकरण नियाल्दै आइरहेका कसै–कसैलाई काठमाडौंको मध्यविन्दुबाट पूरै उपत्यका आँखाले हेर्न असम्भव लाग्न सक्ला । तर, यो कल्पना सम्भव छ है । पत्याउनु भएन भने, ठमेलको मल्बेरी होटलमा पुग्नुहोस् । त्यहाँबाट देखिने सुन्दर दृश्यले तपाईंलाई लठ्ठै बनाउनेछ ।

अझ आठौं तलामा ४८ वर्गमिटरमा फैलिएको नीलो स्विमिङ पुलमा पौडिँदै पूरै काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुर सहरलाई ‘बर्डआई भ्यु’ लेन्सले झैं आँखाले हेर्दा मोहनी नै लाग्छ । ठमेलको ज्याठामार्गमा प्राय: टुरिस्ट लक्षित बजेट होटल दर्जनौं छन् । यही भीडमा वैशाखदेखि सञ्चालनमा ल्याइएको मल्बेरी छुट्टो छ । भीडभाड, हल्लीखल्ली अनि अत्यासिलो ठमेलमा प्राय: पार्किङ अर्को ठूलो समस्या हो । तर, मल्बेरीमा यी कुनै समस्या छैनन् ।

ठ्याक्कै उपराष्ट्रपति कार्यालय र निर्वाचन आयोग रहेको बहादुर भवनको पछाडिको पर्खालसँगै जोडिएको यो भेन्यु शान्त छ । यहाँबाट देखिने स्वयम्भू, चोभार, चन्द्रागिरि, नगरकोट, कीर्तिपुर, साँगाको दृश्य सायद अरू केही थोरै ठाउँका केही छानाबाट मात्रै देखिन्छ ।

स्विमिङ पुलको डिलबाट सीमा नभएको आकाश अनि काठमाडौं उपत्यकाको छेउटुप्पो कता जोडिएको होला भनी अनुमान गर्दै कफी, बेरी फ्लेभरको मोजितो, डिटक्स आदि बेभरेज पिउँदै सूक्ष्म अध्ययन गर्नुमा पनि बेग्लै ऐयासी हुने रहेछ ।

नेपाली कार्पेट व्यवसायी कालस्याङ शेर्पा, साँगे शेर्पा अनि यिनकै परिवारले ५५ करोड लगानीमा सञ्चालनमा ल्याइएको यो होटलको मेनु खासमा आर्थिक हैसियत राम्रै भएका ‘उच्च र मध्यम’ वर्ग लक्षित छ । अझ काठमाडौं घुम्न वा आफन्तजनलाई भेट्न आउनेहरूका लागि यो डेस्टेनी उचित हुन सक्ला । ‘अहिले धेरै नेपालीहरू आफन्त/इष्टमित्रको घरमा पाहुना लाग्न जाने चलन हट्दै गइसक्यो, त्यस्ताहरू यस्तै बजेट होटल खोज्छन्,’ मल्बेरीका महाप्रबन्धक अमिरकृष्ण प्रधानाङ्गले भने, ‘यस्तैखाले राजधानी बाहिरबाट काठमाडौंमा छोटो बिदाका लागि आउने नेपालीलाई हामीले फोकस गरेका हौं ।’

चार रोपनीमा फैलिएको अनि डिलक्सदेखि प्रेसिडेन्ट सुइटसम्म ६७ वटा कोठा भएको यो थलोमा एक रातको बसाइका लागि कम्तीमा १० हजारदेखि ४० हजार रुपैयाँ पर्छ । यसको व्यवस्थापनले आठौं तलाको पुल छेवैमा कोया लाउन्जबार र भुइँ तलामा किम्बु रेस्टुरेन्ट चलाइरहेको छ । यसमा मल्टी कुजिन मेनु छ । एक्जुकेटिभ सेफ ज्ञानेन्द्र पौडेलको नेतृत्वमा इन्डियन, चाइनिज, कन्टिनेन्टल, नेपाली रेसिपीको स्वाद पाइन्छ । ‘नेपाली खाना (७५० रुपैयाँ) र बिरियानी यहाँ खुबै रुचाइएका आइटम हुन्,’ महाप्रबन्धक प्रधानाङ्गले भने । उनले रेस्टुरेन्टमा पस्ने एक जना अतिथिले १५ सयदेखि २ हजार रुपैयाँले भोक मेटाउन सक्ने बताए । सरसफाइ, सर्भिस, कर्मचारीको व्यवहारमा खोट लगाउने ठाउँ छैन । नेपाली पर्यटन बजारमा आएको यो अपांगमैत्री तथा नौलो सदस्यको इन्टेरियर लुक्स नेपाली थिममा आकर्षक नै छ । रिल्याक्सका लागि आउनेहरूले समय बितेको पत्तै पाउँदैनन् । फेमेलीको तुलनामा यो फ्रेन्ड/कपल, कर्पोरेट ग्यादरिङ सुहाउँदो छ ।

फरक अनुभव लिन चाहनेहरूले अझ बेलुकीपखमा रुफटपमा रहेको इन्फिनिटी पुलसाइडमा बस्दा देखिने अस्ताउँदो सूर्यको दृश्य बेजोड छ ।

परापूर्वक कालमा मानिसहरू जब तीर्थयात्रामा निस्किन्थे, उनीहरूको बासस्थानको रोजाइ रूखको फेदी बन्थ्यो । अहिले जस्ता होटलको सुविधा हुँदैनथे रे । त्यही पुरातन अवस्थाका फिरन्ते तीर्थयात्रुहरूको रोजाइमा पर्ने बासस्थानको भान दिन यसको नामकरण र लोगो पनि रूखबाट जुराइएको छ । र, यो रूख किम्बुको हो । जसलाई अंग्रेजीमा मल्बेरी भनिन्छ ।

यो मल्बेरी लक्जरी पनि छ ।

Page 30
हेल्लो शुक्रवार

हार्ड क्वेसन

सामाजिक सञ्जालहरुलाई गलत जानकारीको प्रचारले हैरान पारेको छ । त्यस्ता कार्यविरूद्ध केही कम्पनीले नीति नै बनाउन थालेका छन् ।
- विजय तिमल्सिना

सामाजिक सञ्जालमा घृणा फैलाउने खालको सामग्री कसरी रोक्ने ? मानिसको मृत्युपछि एकाउन्ट के हुन्छ ? सोसल मिडिया कम्पनीहरू मिडिया कम्पनीजस्तै हुन् कि होइनन् ? के यिनलाई कुनै कानुन लाग्दैन ? यी र यस्तै प्रश्नहरू पछिल्ला समय सोसल मिडिया कम्पनीहरूले सामना गरिरहेका छन् । यस्ता प्रश्नहरूको उत्तर एउटै हुँदैन । त्यसैले यस्ता प्रश्नहरूलाई ती कम्पनीको भाषामा ‘हार्ड क्वेसन’ अर्थात् कडा प्रश्न भनिँदै आइएको छ ।

यस्ता प्रश्न भोग्नेमध्ये अग्रपंक्तिमा फेसबुक पर्छ किनकि संसारकै सबैभन्दा धेरै मानिस सदस्य रहेको ‘भर्चुअल संसार’ भएका कारण पनि उसप्रति यस्ता प्रश्नहरू धेरै लक्षित छन् । २०१७ को जनवरीको तथ्यांकअनुसार मासिक २ अर्ब मानिसले फेसबुक चलाउँछन् । यस आधारमा भन्ने हो भने फेसबुकको जिम्मेवारी धेरै छ किनकि जति धेरै मानिसलाई उसले प्रभाव पारेको छ उत्तिकै धेरै जिम्मेवारी त्यस व्यक्ति वा संस्थाको काँधमा हुन्छ । फेसबुकले आफ्नो ब्लगपोस्टमा यो जिम्मेवारीलाई स्विकारेको पनि छ ।

हार्ड क्वेसन भनिएका कतिपय प्रश्नको जवाफ फेसबुकले दिन नसके पनि ऊ पछिल्लो समय आफूलाई मिडिया कम्पनीकै शैलीमा प्रस्तुत हुन खोजिरहेको भान हुन्छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा मुख्य मिडियाहरू डोनाल्ड ट्रम्पको विपक्षमा उभिए पनि फेसबुकमै भएको प्रचारका कारण उनको विजयी भएको हो भन्ने धेरैको दाबी छ ।

फेसबुकमार्फत सेयर हुने गलत जानकारी (फेक न्युज) लाई रोक्न उसले पछिल्लो समय हरसम्भव प्रयास गरिरहेको छ । अहिले निर्वाचन हुने माहोल भएका देशमा फेसबुकमा सेयर हुने गलत जानकारीलाई रोक्न विशेष सावधानी नै अपनाउन थालिएको छ । र, कम्पनी आफैंले पनि यसको विरुद्धमा कडा नीति अपनाउन थालिएको छनक दिएको छ । उसले गलत जानकारीविरुद्ध कडा कदम अपनाउने छनक दिएको छ । गलत जानकारी सेयर गर्ने पेजलाई विज्ञापन नदिने उसको पछिल्लो नीति यसैको संकेत हो । यो कामका लागि गुगल र ट्वीटर पनि उत्तिकै सक्रिय छ ।

तर, जति गर्दा पनि उसले फेसबुकबाट हुने गलत जानकारी रोक्ने सफलता हात पारेको छैन । किनकि यसको प्रयोगमा कुनै सुरुवाती बन्देज छैन । यस्तै गाह्रो प्रश्नहरूको समाधानका लागि फेसबुकले भर्खरै मात्रै एक जना पूर्वपत्रकारलाई जिम्मा दिएको छ । न्युयोर्क टाइम्सकै पब्लिक एडिटर रहिसकेकी लिड स्पेडलाई फेसबुकले कसरी काम गर्छ भनेर बुझाउने जिम्मा दिइएको कम्पनीले जनाएको छ । यस्तो जिम्माले प्रयोगकर्तालाई ती फैलिएको गलत जानकारीमा कम्पनीको हात नरहेको सन्देश दियोस् र अन्य नीतिगत अन्योलता हटाउन पनि काम लागोस् भन्ने नै हो ।

अन्योलको माहोलमा बहस गर्न फेसबुकका कर्मचारी आफैंले ब्लग सिरिज लेख्न थालेका छन् जसलाई नाम दिइएको छ– हार्ड क्वेसन । जसमा मानिसको मृत्युपछि उसको अनलाइन आइडेन्टिटी के हुने ? सोसल मिडियामा आतंकवादलाई कसरी रोक्ने ? गलत जानकारीको फैलावटलाई कसरी रोक्ने ? यस्ता विषयमा बहस सुरु गरिएको छ ।

जस्तो हेट स्पिच (लाञ्छना) सम्बन्धी ब्लगमा लेखिएको छ– ‘यस्ता सामग्री रोक्न सबैभन्दा गाह्रो काम भनेको यस्ता सामग्रीको पहिचान हो किनकि कोही व्यक्तिका लागि सोही कुरा अति अनुपयुक्त हुन सक्छ भने कसैका लागि त्यो सामान्य ।’

कुनै देशमा सामाजिक सञ्जालमा आपत्तिजनक कुरा लेख्नु सामान्य हो भने कुनैमा गैरकानुनी । जस्तो : जर्मनीमा सामाजिक सञ्जालमा आपत्तिजनक कुरा लेख्दा प्रहरीले पक्राउ गर्ने सम्भावना हुन्छ भने अमेरिकामा जतिसुकै अशिष्ट कुरा लेख्दा पनि प्रहरीले पक्राउ नगर्न सक्छ ।

फेरि अर्को उदाहरण, कुनै आफन्त वा परिवारजनको मृत्युपछि हामी उनीहरूको फेसबुक एकाउन्ट बन्द गर्न चाहन्छौं वा त्यतिकै राख्न ? कसैलाई मृतकको एकाउन्ट रहिरहँदा त्यसले दु:ख सम्झाउन सक्छ भने कसैलाई ती एकाउन्ट हेर्दा पुराना यादहरू ताजा भएको महसुस हुन सक्छ । एकै परिवारका दुई सदस्यबीच यस्तो मतान्तर भएमा के गर्ने ?

यस्ता अन्योलता सामाजिक सञ्जाल कम्पनीका लागि मात्रै होइन, प्रयोगकर्ताको अघि राखिए पनि उनीहरू भन्ने छन्– हार्ड क्वेसन ।

हेल्लो शुक्रवार

इन्स्टाग्राम स्टोरी वेबमा पनि

हेलो टेक

इन्स्टाग्रामले स्टोरी फिचर आफ्नो प्रतिस्पर्धी स्न्यापच्याटबाट कपी गरेको थियो । तर, इन्स्टाग्रामको स्टोरी फिचर प्रयोग गर्नेको संख्या स्न्यापच्याटको भन्दा धेरै भएको छ । यो फिचर लोकप्रिय भएपछि इन्स्टाग्रामले मोबाइलमा मात्रै उपलब्ध यो फिचर वेबमा पनि ल्याउने भएको छ ।

यस्ता खालका फिचरले फेसबुक, स्काइपदेखि अन्य एपमा समेत स्थान पाइसकेका छन् । इन्स्टाग्रामले सुरुमा स्टोरी फिचर वेबमा हेर्न मात्रै मिल्ने र केही समय लगत्तै वेबमा पनि स्टोरीमा फोटो अपलोड गर्न मिल्ने सुविधा सुरु गर्न लागेको हो ।

इन्स्टाग्रामको स्टोरी फिचर दैनिक २ सय ५० मिलियन प्रयोगकर्ताले प्रयोग गर्छन् । फेसबुकले सुरु गरेको यस्तै खालको फिचर स्टोरी र म्यासेन्जर डे पनि प्रयोगकर्तामाझ लोकप्रिय छ ।

हेल्लो शुक्रवार

आइफोन एटमा वायरलेस चार्जिङ

 एप्पलले आफ्नो नयाँ आइफोन यसै साता (सेप्टेम्बर १२) मा सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले आइफोन सार्वजनिक गर्नुअघि भएको ‘लिक’ अनुसार आइफोनमा वायरलेस चार्जिङको सुविधा हुनेछ ।
एप्पलको प्रतिस्पर्धी सामसुङले यसअघिको आफ्नो फोनमा राखिसकेको यो सुविधा आइफोनमा भने पहिलो हुनेछ । साथै, आइफोनमा बेजललेस डिस्प्ले हुनेछ । नयाँ आइफोन पहिलोपटक ५१२ जीबी स्टोरेज मोडलमा समेत उपलब्ध हुने अनुमान गरिएको छ । यसअघि आइफोनको अधिकतम स्टोरेज २५६ जीबीसम्म मात्रै थियो ।

आइफोन एटसँगै यो पटक आइफोन सेभेन एस र आइफोन सेभेन एस प्लससमेत सार्वजनिक हुने अनुमान गरिएको छ । एप्पलले यो वर्ष आइफोन सार्वजनिक भएको १० औं वर्षगाँठ मनाउँदै छ ।

हेल्लो शुक्रवार

शरीर स्क्यान गर्ने क्यामेरा !

वैज्ञानिकहरूले मानिसको शरीर स्क्यान गर्न सक्ने क्यामेराको निर्माण गरेका छन् । युनिभर्सिटी अफ इडिनवर्गका वैज्ञानिकहरूले यस्तो क्यामेराको निर्माण गरेका छन् ।

उनीहरूका अनुसार यस्तो क्यामेरा सामान्य प्रयोजनका लागि नभई चिकित्सकहरूका लागि उपयोगी हुनेछ जसले इन्डोस्कोपीजस्ता परीक्षण गर्दा औजारहरू शरीरको कुन ठाउँमा पुगे भनेर तत्काल थाहा पाउन सजिलो हुनेछ ।

यसअघि एक्स–रे जस्ता परीक्षणमात्रै शरीरको भित्री भागका बारेमा जानकारी मिल्थ्यो । अहिले बनेको प्रोटोटाइप डिभाइसले इन्डोस्कोपी गर्दा प्रयोग हुने इन्डोस्कोपबाट प्राप्त सामान्य प्रकाशको माध्यमबाट शरीरको स्क्यान तत्काल दिन सक्छ । यसको प्रोटोटाइपले भित्री भागको पूर्ण तस्बिर भने दिन सक्दैन ।

Page 31
हेल्लो शुक्रवार

निश्चल र आशिफको परीक्षा

असिम शाहद्वारा निर्देशित फिल्म ‘दुई रूपैयाँ’ शुक्रबार रिलिज हुँदै छ । यसमा निश्चल बस्नेत र आशिफ शाह मुख्य कलाकार हुन् । उनीहरु एक्टिङमा आफैं किन आए त ?
- सुशील पौडेल

‘लुट’ बाट निर्देशकका रूपमा उदाएका निश्चल बस्नेत अचेल निर्देशक कम हिरो ज्यादा लाग्न थालेका छन् । गीत गाउने, नाच्ने सबैमा आफूलाई पस्किसके र सफलता पनि पाए । गेस्ट रोलदेखिको उनको अभिनय यात्रा यतिबेला ‘दुई रुपैयाँ’ सम्म आइपुग्दा मुख्य कलाकार नै भएका छन् । भदौ २३ देखि उनको हिरोइज्मको अग्निपरीक्षा सुरु हुनेछ । फिल्ममा निश्चल जुरेलीको भूमिकामा देखिँदैछन् ।

आफ्नै निर्देशनको फिल्म ‘कर्कश’ बाट हिरो हुने जमर्को गरेका आशिफ शाह उक्त फिल्मको असफलतासँगै केही वर्ष सुषुप्त बसे । यतिबेला आफ्नै भाइ असिमले निर्देशन गरेको ‘दुई रुपैयाँ’ मा दाह्रीको भूमिकामा निश्चलको समानान्तर भई देखिँदैछन् । ‘दुई रुपैयाँ’ यिनै दुई जुरेली र दाह्रीको एउटा पाँचदिने मिसनको कथा हो ।

‘एउटा सानो समस्याले गर्दा निम्त्याउने अरू ठूल्ठूला समस्या, जसमा पात्रहरू पर्दै जाने र निस्कन प्रयास गर्ने तर नसक्ने’ फिल्मको कथाकार समेत रहेका आशिफले सुनाए, ‘दाह्री र जुरेली जुन अवस्थामा पीडित हुँदै जान्छन्, दर्शकलाई त्यही नै कमेडी लाग्छ ।’ डार्क कमेडी फिल्मले दर्शकमा एक लेभलको मनोरञ्जन दिनेमा निश्चल विश्वस्त छन् । भन्छन्, ‘हामीले फिल्म लेख्दा, बनाउँदादेखि नै रमाइलो गरेका थियौं । भयंकर नै होला/नहोला तर एक लेभलको मनोरञ्जनचाहिँ फिल्मले दिन्छ दिन्छ ।’

‘जति पनि घटनाहरू देखाइएका छन्, ती सबै पहिल्यै समाजमा घटिसकेका छन् भन्ने लाग्छ । नर्मल दर्शकका लागि केवल त्यो मनोरञ्जन हो । डेप्थमा बुझ्न चाहनेका लागि प्रमाण । हामीले मिडियामा आएका घटनालाई स्क्रिन सट गरेर राखेका थियौं,’ फिल्ममा निर्माण साझेदारीसमेत गरेका निश्चलको कुरामा आशिफले थपे, ‘धेरै घटना हाम्रो रियल लाइफसँग रिलेटेड छ ।’

निश्चलले धेरै कमेडी जानराका नेपाली फिल्महरू हेरे तर ‘जात्रा’ ले जति कमेडी स्वाद अरूले दिएन रे । आधारभूत जीवन शैलीका घटनामै आउने कमेडीमा दर्शकले बढी इन्जोए गर्ने उनको मान्यता रहेछ । ‘दुई रुपैयाँ’ पनि धेरै हदसम्म त्यस्तै हो । ‘हाँसेरै सुरु हुने फिल्म हाँसेरै सकिन्छ । ट्ेरलरभन्दा फिल्म धेरै रमाइलो छ । रमाइलो हुँदाहुँदै राम्रो लाग्न सक्छ,’ उनी दर्शक बनेर बोले ।

निश्चल र आशिफ फिल्मका निर्माता भए पनि ‘दुई रुपैयाँ’ का पहिलो रोजाइका कलाकार भने हैनन् । सुरुमा केही चलेका कलाकार राख्न चाहन्थे उनीहरू नै । तर चाहना पूरा भएन । चल्तीका कलाकारले समय दिन नसकेपछि जुरेली र दाह्रीको चरित्रमा ज्यान फालेर भिडे उनीहरू आफैं । फिल्म हेरेपछि भने आशिफ दंग छन् । यतिसम्म कि निश्चलको एक्टिङले उनलाई हायलकायल नै पारेछ । भन्छन्, ‘उसको एक्टिङ हेरेर मेरो कलाकार रूप फ्रस्टेड नै भयो । त्यो रूप उसको आजसम्म कसैले स्क्रिनमा देखेको छैन ।’ आखिर के देखे त त्यस्तो ? एउटा दृश्यबारे आशिफ फेरि बोले, ‘उसले केटीलाई साइड हान्ने बेला मनपर्ने हिरो दयाहाङ राई भनेपछि निश्चलले कता हो सोल्टिनी चिटिक्क परेर भन्दै दयाको क्यारिकेचर गरेको देख्दा दर्शकलाई लुटपुट नै बनाइदिन्छ ।’ त्यस्ता धेरै छन् रे फिल्ममा ।

निश्चललाई पनि हिजोआज स्क्रिनको चमकले तानिरहेको छ । बालबालिकाले पनि काले दाइ भनेर बोलाउँदा उनलाई निर्देशक भएर बनाएको भन्दा भिन्न सर्कलमा पनि चिनिन पाएकोमा खुसी रहेछन् । तर जुरेली बन्ने सोच पहिले भने थिएन भन्छन् उनी । ‘जसका लागि सोचिएको थियो, उहाँहरूले समय दिन नसकेपछि आफैं भिडेको हो । फेरि यी चरित्रका लागि हामीले जति अरूले बुझेको छैन भन्ने पनि लाग्यो । दोस्रो विकल्प हामी नै थियौं,’ पछि निश्चलको आँटमा आशिफ पनि सामेल भइदिए ।

कलाकारलाई अर्डर गर्दै आएका निश्चल आफैंलाई एक्टिङ अनुभव कस्तो रह्यो होला ? उनले भने, ‘आफ्नो क्यारिकेचर आफैं कसरी गर्ने भन्ने नै कलाकारलाई सबैभन्दा गाह्रो हुने रहेछ । एक्टरलाई साँच्चै नै समय दिनुपर्ने रहेछ । ल रेडी है भनेर फ्याट्टै सट लिने भन्ने हुँदैन रहेछ ।’ उनले अब निर्देशन गर्ने फिल्ममा कलाकारलाई पूरा समय दिने वाचा पनि गरे । ‘पहिले कलाकारले एकछिन पर्खनु न मलाई क्यारेक्टरमा आउन टाइम दिनुस् भन्दा नाटक देखायो भन्ने लाग्थ्यो,’ आशिफले थपे, ‘हैन रहेछ । अब त हामीले पनि कलाकारको मर्म बुझ्यौं नि ।’

निश्चललाई कहिलेकाहीं निर्देशन छोडेर अन्यत्र बहकिएको आरोप पनि लाग्छ । तर उनले जता हात हाल्यो, त्यतै सफलता पाइरहँदा आरोपहरू स्वत: फिक्का भइरहेका छन् । उनले भने, ‘डाइरेक्सनको काम नै छोडेर अरूचाहिँ गर्दिनँ । खाली समयमा केही गरौं भन्ने प्रयासमा यो सबै गरिरहेको हुँ । दर्शकलाई पनि इन्जोए दिइरहेको छ भने किन नगर्ने ?’ पछिल्लोपटक ‘लुट २’ ल्याएका निश्चल तिहारलगत्तै नयाँ फिल्मलाई फ्लोरमा लाँदैछन् ।

‘लुट’ को गुडविलले चर्चित बनाएको निश्चललाई लाग्दोरहेछ । ‘कत्ति कामहरू बिगारेको छु मैले,’ निश्चल थप्छन्, ‘तर बिग्रेको काममा पनि होसियार हुनु है, अर्कोचाहिँ राम्रो गरेर आउनु, पर्खिरहेका छौं है भन्ने खालका प्रतिक्रियाले मलाई सहज भएको छ । यति माया सबैले पाउँदैनन् ।’

निश्चलकै ‘लुट’ बाट राइज भएका हुन् सौगात मल्ल, दयाहाङ राई र खगेन्द्र लामिछाने । अहिले उनी आफैं पनि एक्टिङमा छिरेपछि अरूका अभिनयप्रतिको मूल्यांकन कस्तो होला निश्चलको ?

‘कसैले मेरो कमजोरी बताइदिएन भने सुधार्ने मौका नै पाउँदिनँ । भन्ने नियत भने सफा हुनुपर्छ,’ भूमिका बाँधेर निश्चल विषय प्रवेश गरे, ‘एक्टरको हिसाबले पूरा स्क्रिनमा छाउने मामिलामा नयाँ कलाकारमा डेप्थ छैन । दर्शकलाई चरित्रसँगै डोर्‍याउने मामिलामा बढी प्राक्टिस र अध्ययन चाहिन्छ । एक्टिङ फिक्सनल हुन सक्ला तर एक्टरले दिने इफोर्ट पूरै ओरिजिनल हुनुपर्छ । आफूले गर्ने फिल दर्शकसम्म ट्रान्सफर गर्न सक्नुपर्‍यो । तर अहिलेकाले धेरै मिहिनेत गरेजस्तो लाग्दैन ।’

सौगात, दया वा खगेन्द्रको काम चित्तबुझ्दो लाग्छ त ? ‘दया दाइको काममा एकदम सानो सानो भिन्नता मात्रै देखिइरहेको छ । यस्तो भइसक्यो कि दया दाइ भन्नेबित्तिकै हँसाउने हो भन्ने टाइपकास्टमा पुगिसके । इमेज नै त्यो बनिसकेको छ । सौगात दाइले क्यारेक्टरअनुसार लुक्स र बोल्ने टोन भिन्न गर्नुहुन्छ, जुन इन्टेनसिटी पुर्‍याउनुपर्ने हो, त्यो पनि पुर्‍याउनुभएको हुन्छ तर ती सबै कुरा उतारदिएर एक्टिङ गर्न लगाउने हो भने उहाँमा पनि लगभग टाइपकास्ट नै देखिन्छ । त्यत्ति धेरै भिन्नता लागेको छैन,’ उनले भने ।

आफ्नै क्यारेक्टरबारे उनले भने, ‘मैले धेरै चेन्ज गरेको छैन । मेरो इमेज जुन बनिरहेको छ, त्यही लुकमा धेरै नबदली फाइदा लिने हो । म प्रोफेसनल्ली ट्रेन्ड एक्टर पनि हैन । क्यारेक्टरअनुसार सोच्ने शैलीलाई चेन्ज गर्ने हो । मैले त्यसमै ध्यान दिएँ ।’

कलाकारबाट हन्डर खाएका आशिफ र निश्चल फेरि अरू कलाकार खोज्दै हिँडेनन्् । जसलाई क्यारेक्टरको आन्द्राभुँडी सबै थाहा छ, उसैले किन नगर्ने ? आशिफले यस्तो निर्णय सुनाउँदा निश्चल र उनलाई मात्र कन्फिडेन्ट थियो । निश्चल बोले, ‘दाह्री र जुरेली क्यारेक्टर नभई हिरो भइदिएको भएचाहिँ हामी खेल्न आँट्दैनथ्यौं । एकदमै हिरोइज्म देखाउनुपर्ने फिल्म गर्नुपर्‍यो भने म दसचोटि सोच्नुपर्ला । यसमा नाम मात्रैका हिरो हुन् तर फिल्मभरि दु:ख पाउने यिनै हुन् । जसले पनि कुट्छ । पीडित क्यारेक्टर हुन् । फिल्ममा हामीलाई उड्नु थिएन । एक्सन छ तर त्यो पनि परिस्थितिअनुसार ।’