You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
Page 3
गृह पृष्ठ

१५ मेडिकल कलेज गैरकानुनी

- मकर श्रेष्ठ,कृष्ण ज्ञवाली

काठमाडौं– विभिन्न स्थानका १० मेडिकल कलेजका शिक्षण अस्पताल सरकारको स्वीकृतबिनै सञ्चालनमा रहेको खुलेको छ । सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यी मेडिकल कलेज सञ्चालित छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन पाएका १७ मेडिकल कलेजमध्ये १० वटाले स्वास्थ्य मन्त्रालयबाट शिक्षण अस्पताल सञ्चालन स्वीकृति लिएकै छैनन् । स्वीकृति लिएका सातमध्ये पनि ५ वटाको नवीकरण भएको छैन । दुईवटा मेडिकल कलेजले मात्रै मन्त्रालयबाट सञ्चालन स्वीकृति लिएर नियमित नवीकरण गराइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयले नेसनल मेडिकल कलेज स्वास्थ्य मन्त्रालयमा दर्ता नभएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै, त्रिविले पनि स्वास्थ्यको स्वीकृतिबेगर शिक्षण अस्पताल सञ्चालन गरेको भन्दै साउन १२ मा दिएको सम्बन्धन खारेज गरेको थियो । प्रक्रिया पूरा गरेर सञ्चालन भइरहेकामा गण्डकी मेडिकल कलेज र नोबल मेडिकल कलेज मात्र हुन् ।
स्वास्थ्य मन्त्रालयसँग स्वीकृति नै नलिई सञ्चालन गरिएका मेडिकल कलेजमा काठमाडौं विश्वविद्यालयको धुलिखेल अस्पतालसमेत
हो । अस्पतालले २०६९ वैशाख ३ मा दर्ताका लागि निवेदन दिए पनि आवश्यक पूर्वाधार पूरा गर्न नसकेपछि दर्ता हुन नसकेको मन्त्रालय
स्रोतले जनायो । काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सका प्रशासन मेनेजर दीपक दाहालले निर्देशिकामा व्यवस्था गरेअनुसार ईआईए र भूकम्पप्रतिरोधी भवनको प्रमाणीकरण गर्ने प्रक्रियामा रहेको बताए । ‘अस्पताल दर्ताका लागि मन्त्रालयमा पाँच वर्षअघि निवेदन दिइसकेका छौं,’ उनले भने, ‘पछिल्लो मापदण्ड पूरा गरेर स्वीकृति लिने चरणमा छौं ।’

केयूबाटै सम्बन्धन लिएको मणिपाल कलेज अफ मेडिकल साइन्सले पनि दर्ताका लागि ०७१ जेठ २० मा निवेदन दिएको थियो । कलेज अफ मेडिकल साइन्स भरतपुरले ०७३ माघ २७ मा शिक्षण अस्पताल दर्ताका लागि निवेदन दिए पनि अनुमति पाइसकेको छैन । नेपालगन्ज मेडिकल कलेजले पनि मन्त्रालयको दर्ताबिनै ७ सय ५० शय्याको अस्पताल सञ्चालन गरिरहेको छ । कलेजले अस्पताल सञ्चालनका लागि ०७१ असार १ मा निवेदन दर्ता गराएको मन्त्रालय स्रोतले जनायो । यस्तै, काठमाडौं मेडिकल कलेज (केएमसी) र नेपाल मेडिकल कलेज (एनएमसी) को शिक्षण अस्पताल पनि बिनादर्ता सञ्चालन भइरहेका छन् । केएमसीले मन्त्रालयमा अस्पताल दर्ताका लागि ०७१ जेठ १९ मा निवेदन दर्ता गराएको छ भने नेपाल मेडिकल कलेजले गत वर्ष पुस १८ मा मात्रै दर्ता प्रक्रिया अघि बढाएको छ । केयूबाटै अनुमति लिएका लुम्बिनी मेडिकल कलेज पाल्पा, देवदह मेडिकल कलेज नवलपरासी, विराट मेडिकल कलेजका शिक्षण अस्पतालले पनि सञ्चालन प्रक्रिया पूरा गरेका छैनन् ।

त्रिविबाट सम्बन्धन लिएका ७ वटा मेडिकल कलेजमध्ये गण्डकी मेडिकल कलेजले मात्रै दर्ता र नवीकरण प्रक्रिया पूरा गरेको छ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, जानकी मेडिकल कलेज, युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज, नेसनल मेडिकल कलेज वीरगन्जको दर्तासमेत भएको छैन । यीमध्ये सेनाको अस्पतालले दर्ता गर्न मन्त्रालयमा निवेदन दिएको छैन । जानकी मेडिकल कलेजले ०६६ पुस २२ मा दर्ताका लागि मन्त्रालयमा निवेदन दिएको छ भने युनिभर्सलले ०७१ जेठ १९ मा निवेदन दिएको थियो । वीरगन्जको नेसनलले गत वर्ष पुस ५ मा मात्रै निवेदन दर्ता गरेको छ । मेडिकल कलेजका सञ्चालकले मापदण्ड जारी गर्नुभन्दा पहिले नै अस्पताल स्थापना भएकाले दर्ता र सञ्चालन अनुमति लिन आवश्यक नभएको अडान राख्दै आएका थिए । तर नयाँ मापदण्डअनुसार पूर्वाधार पुर्‍याएर दर्ता हुनुपर्ने भनी मन्त्रालयले अडान राखेपछि मेडिकल
कलेजका सञ्चालकले दर्ता र स्वीकृतिका लागि अनुमति लिन निवेदन दिन थालेका हुन् ।

मन्त्रिपरिषद्को ०७३ पुस १९ को बैठकले अनुमति नलिई सञ्चालन गरेको स्वास्थ्य संस्थाले ०७३ फागुन मसान्तसम्म अनुमति र नवीकरण लिइसक्नुपर्ने निर्णय गरेको थियो । यो निर्णयपछि नोबल र गण्डकीले जरिवाना तिरेर नवीकरण गरेका हुन् । दर्ता नभएका मेडिकल कलेजमध्ये केहीले शिक्षा मन्त्रालयबाट अस्पताल सञ्चालन अनुमति लिएका छन् । नेसनल मेडिकल कलेजले पनि यस्तै गरेको थियो । स्वास्थ्य मन्त्रालयले आफूसँग दर्ता नभएको भन्दै बन्द गर्ने निर्णय गरिसकेको छ । ‘बिनादर्ता सञ्चालन हुनु स्वास्थ्य मन्त्रालयका लागि अवैध संस्था हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अस्पताल हुनका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्छ । शिक्षा मन्त्रालयबाट अनुमति लिएको छ भने स्वास्थ्य मन्त्रालयले चिन्दैन । स्वास्थ्यमा दर्ता भएकालाई मात्रै चिन्छ ।’ स्वास्थ्य मन्त्रालयमा दर्ता नभए पनि उसको मातहतमा रहेको मेडिकल काउन्सिलले अनुगमन गरेर सिट निर्धारण गरेको छ ।

गगन थापा स्वास्थ्यमन्त्री भएपछि दर्ता र नवीकरण नभएका यस्ता मेडिकल कलेजको अनुगमन र सिट निर्धारण नगर्नसमेत मन्त्रालयले निर्देशन दिइसकेको छ । त्यस्तै, दर्ता र नवीकरण नभएका अस्पतालको कर नबुझ्नसमेत स्वास्थ्यले अर्थ मन्त्रालयलाई समेत पत्राचार गरिसकेको छ । ‘स्वास्थ्यमा दर्ता र नवीकरण नभएका स्वास्थ्य संस्था अस्पताल हुन सक्दैनन्,’ पूर्वमन्त्री थापाले भने, ‘अब स्वास्थ्य मन्त्रालयको भूमिका प्रोएक्टिभ हुनुपर्छ । निर्देशिकाअनुसार दर्ता र नवीकरण नहुनेलाई बन्द गर्ने प्रक्रिया सुरु गर्नुपर्छ ।’ स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले यो समस्या समाधान गर्न आफू लागिरहेको बताए । ‘०७० अघि शिक्षा मन्त्रालयले सञ्चालन गर्न अनुमति दिएको हकमा के गर्ने भन्ने विषयमा शिक्षासँग छलफल गर्छौं,’ उनले भने, ‘यो विषय मेरो प्राथमिकतामा छ ।’ निर्देशिका जारी हुनुअघि सञ्चालन भएका अस्पताल र मेडिकल कलेजले पनि निर्देशिकाअनुसार पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । निर्देशिकाको बुँदा नम्बर १० मा निर्देशिका जारी हुनुअघि सञ्चालन भएकाले पनि अनुमति प्रदान गर्ने निकायमा निवेदन दिनुपर्ने उल्लेख छ ।

 

मापदण्डमा के छ ?

  • भवनका हकमा भवनसंहिताअनुसार निर्माण भएको हुनुपर्छ । भूकम्पप्रतिरोधी भएको पुष्टि गर्नुपर्छ ।
  • प्रारम्भिक वातावरणीय परीक्षण हुनुपर्छ ।
  • महिला र पुरुषको अलग अलग वार्ड हुनुपर्छ ।
  • ड्रेसिङदेखि काउन्सिलिङ रुम हुनुपर्छ ।
  • एउटा जनरल वार्डमा बढीमा २५ बेड मात्रै हुनुपर्छ ।
  • मेजर सर्जरी सेवा दिन अस्पतालमा कार्डियाक मनिटर भेन्टिलेटरसमेत पोस्ट अपरेटिभ रिकभरी बेड हुनुपर्छ ।
  • हरेक वार्डमा नर्सिङ स्टेसन हुनुपर्छ ।
  • ब्लड बैंक हुनुपर्छ ।
  • शवगृह हुनुपर्छ ।
  • फोहोरमैला व्यवस्थापनका लागि संयन्त्र हुनुपर्छ ।
  • बिरामी र कुरुवाका लागि नुहाउने घरको व्यवस्था हुनुपर्छ ।
  • चट्याङ प्रतिरोधी प्रविधि हुनुपर्छ ।
  • विपत् व्यवस्थापनको योजना बनाई वर्षमा दुईपटक त्यसको अभ्यास गर्नुपर्छ ।
  • भवन संहिताअनुसार खाली जग्गा हुनुपर्छ ।
  • अस्पताल परिसरमा बगैंचा र वृक्षरोपण भएको हुनुपर्छ ।
  • तीन शय्या बराबर एक कार पार्क हुनुपर्छ ।
  • २५ प्रतिशत जग्गा अस्पताललाई छुट्याउनुपर्छ ।
  • अस्पतालमा क्यान्टिन, सवारीसाधन जाने र पार्क हुने बाटोबाहेक भित्र जाने र निस्कने अलग–अलग बाटो हुनुपर्छ ।
  • प्रतीक्षालय, सोधपुछ कक्ष हुनुपर्छ ।
  • प्रत्येक उपचारकक्षमा अक्सिजन हुनुपर्छ ।
  • अस्पतालमा भएको कुल सिटको १० प्रतिशत सिट इमर्जेन्सीमा छुट्याउनुपर्छ । 

 

गृह पृष्ठ

उपाध्यक्ष/उपप्रमुख ‘शक्तिशाली’

- राजेन्द्र फुयाल

काठमाडौं– राज्यको आलंकारिक र कार्यकारी निकाय हुन् वा कुनै संघसंस्था, उपाध्यक्ष/उपप्रमुख भन्नासाथ धेरैले दोस्रो तहको मात्रै ठान्छन् । प्रमुखको अनुपस्थितिमा मात्रै कार्यकारी अधिकार हातमा आउने संवैधानिक र कानुनी बाध्यताका कारण उपराष्ट्रपति, उपप्रधानमन्त्री, उपसभामुखजस्ता उपल्ला पदमा समेत खासै आकर्षण छैन । तर स्थानीय तहका उपाध्यक्ष/उपप्रमुखले भने धेरै हदसम्म कार्यकारी अधिकार प्रयोग गर्न पाउने भएका छन् । संसद्बाट हालै पारित (राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी) स्थानीय तहको सरकार सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनले गाउँपालिकाका उपाध्यक्ष र नगरपालिकाका उपप्रमुखलाई उल्लेख्य कार्यकारी अधिकार दिएको हो । कानुनले उपाध्यक्ष/उपप्रमुखलाई ‘अध्यक्ष/प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने’ परम्परागत मान्यताविपरीत
योजना तथा कार्यक्रमको अनुगमनजस्तो महत्त्वपूर्ण अधिकार दिएको छ । उपाध्यक्ष/उपप्रमुखले योजना तथा कार्यक्रमको अनुगमन तथा
सुपरिवेक्षण प्रतिवेदन स्थानीय कार्यपालिकाको बैठकमा पेस गर्नुपर्छ । त्यसैगरी गैरसरकारी संघसंस्थाको समन्वय, उपभोक्ता हित
संरक्षण, गाउँ/नगरसभा र कार्यपालिकाद्वारा गठित समितिको समन्वयजस्ता क्षेत्राधिकार उपाध्यक्ष/उपप्रमुखलाई प्राप्त छ । स्थानीय कार्यपालिकाको बैठक डाक्ने, अध्यक्षता गर्ने, निर्णय कार्यान्वयन गराउने, गाउँ/नगरसभाको अधिवेशन आह्वान र अन्त्य गर्ने, स्थानीय तहको चल/अचल सम्पत्ति संरक्षण, आम्दानी, खर्चको हिसाब र अन्य कागजात सुरक्षित राख्ने/राख्न लगाउनेजस्ता महत्त्वपूर्ण अधिकार स्थानीय तहका प्रमुखलाई छ । यस्तो कार्यकारी अधिकार प्रयोग गर्ने अध्यक्ष/प्रमुखले सात दिनभन्दा बढी समय गाउँ/नगरपालिकामा अनुपस्थित हुने अवस्थामा उपाध्यक्ष/उपप्रमुखलाई कार्यभार दिनुपर्ने बाध्यात्मक कानुनी व्यवस्था पनि भएको छ । गाउँ/नगरसभा, कार्यपालिका र प्रमुखले ‘प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य’ पनि उपाध्यक्ष/उपप्रमुखको क्षेत्राधिकारमा पर्नेछन् ।

स्थानीय तहका प्रमुख–उपप्रमुखमध्ये एकमा महिला उम्मेदवारी दिनुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाका कारण देशका अधिकांश स्थानीय तहमा उपाध्यक्ष/उपप्रमुखमा महिला निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनले उपाध्यक्ष/उपप्रमुखलाई स्थानीय न्यायिक समितिको संयोजकको पद सुरक्षित गरेको थियो । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनपछि संसदले पारित गरेको ‘स्थानीय तहको सरकार सञ्चालन ऐन’ ले उपाध्यक्ष/उपप्रमुखलाई थप शक्तिशाली बनाएको हो । भवन निर्माणको अनुमति र नक्सा पास गर्ने अधिकार प्राप्त व्यक्ति (प्रमुख प्रशासकीय अधिकारी) विरुद्धको उजुरी सुन्ने अधिकार स्थानीय तहका अध्यक्ष/प्रमुखलाई भए पनि देवानी र फौजदारी विवाद निरूपणको सम्पूर्ण अधिकार उपाध्यक्ष/उपप्रमुख नेतृत्वको न्यायिक समितिमा निहित गरिएको छ । तीन सदस्यीय न्यायिक समितिको संयोजकका रूपमा उपाध्यक्ष/उपप्रमुखले नै आफ्नो क्षेत्राधिकारभित्रका मुद्दा मामिला सुरु किनारा गर्नेछन् । नयाँ कानुनले न्यायिक समितिलाई ससाना सामाजिक विवाद र देवानी मामिलाको मात्रै नभई एक वर्षभन्दा कम सजाय हुने प्रकृतिका फौजदारी मुद्दाको समेत सुरु किनारा (मेलमिलापको माध्यमद्वारा) गर्ने अधिकार दिएको छ ।

उपाध्यक्ष/उपप्रमुख नेतृत्वको न्यायिक समितिमा गाउँ/नगरसभाले चुनेका दुई सदस्य रहन्छन् । तर विवादको कारबाही, किनाराका लागि संयोजकको उपस्थिति अनिवार्य हुने कानुनी व्यवस्थाले उपाध्यक्ष/उपप्रमुखको पदलाई थप गरिमा र आकर्षण दिएको छ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग संयोजक र सदस्यले सामूहिक रूपमा गर्ने र बहुमतको राय मान्य हुने व्यवस्था भए पनि संयोजकबाहेकका दुई सदस्य मात्रैको उपस्थिति र एक मतले मात्रै पनि मुद्दाको अन्तिम कारबाही र किनारा गर्न नपाउने व्यवस्था छ । निर्णयमा चित्त नबुझ्ने पक्षले ९०
दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।

गृह पृष्ठ

कांग्रेस अगाडि

प्रदेश २
- कान्तिपुर संवाददाता

काठमाडौ (कास)– स्थानीय तहको तेस्रो चरणअन्तर्गत प्रदेश २ का आठ जिल्लामा भएको चुनावको बिहीबार बेलुकासम्म ३२ स्थानको परिणाम आएको छ । त्यसमा कांग्रेस १० स्थानीय तहमा विजयी भएको छ भने राष्ट्रिय जनता पार्टी (राजपा) ले ६ स्थानमा जितेको छ । एमाले र माओवादीले पाँच/पाँच स्थान जितेका छन् । संघीय फोरमले तीन स्थान र फोरम लोकतान्त्रिकले दुई स्थान जितेका छन् । नेपाली जनता दल एक स्थानमा विजयी भएको छ । जारी मतगणनामा पनि कांग्रेस नै अगाडि छ । उसले ३५ स्थानमा अग्रता लिएको छ । माओवादीले १८, राजपाले १५, संघीय फोरमले
२२ र एमालेले १४ स्थानमा अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार २ स्थानमा अगाडि छन् । लोकतान्त्रिक फोरम, नेपाली जनता दल र जनशक्ति एक/एक स्थानमा अगाडि छन् ।

Page 4
Page 5
Page 6
उपत्यका

टहरामै तेस्रो दसैं

‘जहाँ जस्तो अवस्था भए पनि पर्वसँग भिज्नै पर्दोरहेछ’
- कान्तिपुर संवाददाता

भक्तपुर नगरपालिका मंगलाछेंस्थित अस्थायी टहराको एक कुनामा भूकम्पपीडितले राखेको जमरा । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर 

भक्तपुर– भूकम्पले भक्तपुर नगरपालिका ४, मंगलाछेंकी बुद्धिमाया कपाली बस्दै आएको गुठियारको घर भत्कियो । उनको पाँच जनाको परिवार करिब साढे दुई वर्षयता मंगलाछेंस्थित हनुमन्ते खोला किनाराको पर्ती जग्गामा दाताले बनाइदिएको अस्थायी टहरामा बस्दै आएका छन् । बुद्धिमायाले भूकम्पपछिको तेस्रो दसैं टहरामै जमरा राखी भित्र्याएकी छन् । ‘वर्ष दिनमा आउने चाड त मान्नै पर्‍यो,’ उनले भनिन्, ‘बालबच्चाका लागि पनि मनाउनै पर्छ । जमरा मूल घरमै राख्नुपर्ने हो, घर छैन, टहरामै राख्यौं ।’ भूकम्पपछिको हिउँद/वर्षा अस्थायी टहरामै गुजारेका उनको परिवारको घर बनाउने सपना भने अन्योलमा छ । पुस्तौंदेखि नेवार समुदायको मृत्यु संस्कारमा चाहिने दाउरा राख्ने गुछें (गुठी घर/गुठियार) मा बस्दै आएको घर भूकम्पका कारण भत्कियो । अन्यत्र कतै जग्गा पनि नभएकाले घरमा बस्ने सपना अधुरो रहेको उनी बताउँछिन् । ‘ससुराको पाँच दाजुभाइ गुछेंमा नै बिते,’ बुद्धिमायाले भनिन्, ‘हाम्रो पुस्ता पनि त्यही गछेंमै बस्यौं, तीन छोराहरू डेरामा बस्दै आएका छन् । आफ्नो जग्गाको निसानी छैन, सम्पत्तिका नाममा दाताले बनाइदिएको टहरा छ ।’ बुद्धिमायाको जस्तै मंगलाछेंकी कृष्णकुमारी लाखेको पनि भूकम्पपछिको तेस्रो दसैं टहरामै बित्ने भएको छ । साढे दुई वर्ष अस्थायी टहरामै गुजारेको कृष्णकुमारीको परिवारले अस्थायी टहरामै जमरा राखी दसैं भित्र्याएका छन् । ‘जहाँ जस्तो अवस्थामा रहेर पनि जीवनसँग जोडिँदै आएका पर्वसँग भिज्नै पर्दोरहेछ,’ उनले भनिन्, ‘शीत झर्ने हिउँद, हुरीबतास, गर्मी, हिलो सहँदै आयौं, सर्पको त्रासले छोडेको छैन । चाडपर्व र पाहुनापातलाई टहराबाटै टार्दै आएका छौं ।’ भूकम्पका कारण क्षतिग्रस्त घरको भग्नावशेष हटाई बल्ल सरकारले निजी आवास पुनर्निर्माणका लागि दिएको अनुदानको पहिलो किस्ताको ५० हजारले पुनर्निर्माण थालनी गरेको उनी बताउँछिन् । ‘अनुदानको ५० हजारले जग खन्यौं, बाँकी बन्दै गरेको घरकै जग्गा वित्तीय संस्थामा धितो राखी ऋण लिएर पुनर्निर्माणको थालनी गरेका छौं,’ उनले आशा व्यक्त गरिन्, ‘अर्को दसैं नयाँ घरमा मनाउँछौं ।’

रामबहादुर कपालीलगायत दाजुभाइको संयुक्त परिवार बस्दै आएको घर क्षतिग्रस्त छ । धराप घरको व्यवस्थापनसमेत गर्न सकेका छैनन् । रामबहादुरले भत्किएको धराप घरकै छिँडीमा जमरा राखेका छन् । ‘भूकम्पपछि दाताले बनाइदिएको टहरामा बसेका छौं,’ उनले भने, ‘मूल घरमै जमरा राख्नुपर्ने परम्पराअनुरूप भत्किएकै घरमा राखेको हो । अघिल्लो दुई दसैं यसै टहरामै बितायौं, अझै कति दसैं टहरामै बिताउनुपर्ने हो ?’
पर्ती जग्गामा दाताको सहयोगबाट निर्मित अस्थायी टहरामा बसोबास गरिरहेका भूकम्पपीडितलाई मंसिरसम्ममा ठाउँ खाली गर्न भनिएको भन्दै पीडितहरू चिन्तित छन् । ‘पाहुनापात टहराबाटै टार्दै आएका छौं,’ रामबहादुरकी छोरी संगीताले भनिन्, ‘मंगलाछेंको पर्ती जग्गामा बसेका भूकम्पपीडितलाई मंसिरसम्म ठाउँ खाली गर्नु भनेको छ, कहाँ बास बस्ने समस्यामा छौं ।’

दाजुभाइको बहुस्वामित्वको घर भत्किएपछि पुनर्निर्माण गर्न समस्या परेको र अन्यत्र जग्गा नभएको उनी बताउँछिन् । निजी आवास पुनर्निर्माणका बहुस्वामित्वअन्तर्गत अनुदान सम्झौता गरी पहिलो किस्ताको रकम प्राप्त गरे पनि दाजुभाइको आन्तरिक समस्याका कारण पुनर्निर्माण हुन नसकेको उनले बताइन् । जिल्लाको चार नगरको विभिन्न स्थानहरूमा अस्थायी टहरा निर्माण गरी बसोबास गरिरहेका कतिपय भूकम्पपीडितले अस्थायी टहरा र कतिपयले भत्किएकै घरमा जमरा राखी बडादसैंको स्वागत गरेका छन् ।

उपत्यका

कर्मचारीलाई कार्यकक्ष अभाव

स्थानीय निकाय
नगरपालिका कार्यालय नजिकै कार्यकक्षका लागि भाडाका कोठाहरू खोजी
- शिल्पा कर्ण

काठमाडौं– नागार्जुन नगरपालिकामा स्थानीय तहमा खटिन शिक्षाबाहेकका अन्य कर्मचारी पुगिसके । स्वास्थ्य, पशु, कृषि र महिला तथा बालबालिका शाखामा काम गर्ने कर्मचारी हाजिर हुन आए पनि कार्यकक्ष मिलाउन कठिनाइ भएको नगरपालिकाको भनाइ छ । कार्यकारी अधिकृत लक्ष्मी पाण्डे गौतमले थपिएका कर्मचारीलाई कार्यकक्षको व्यवस्थापन गर्न नगरपालिका कार्यालय नजिकै उपयुक्त भाडाका कोठाहरू खोजी भइरहेको बताइन् । कीर्तिपुर नगरपालिकामा भदौ अन्तिमबाट शिक्षाका उपसचिवस्तरका कर्मचारीका साथै विद्यालय निरीक्षक र स्रोत व्यक्ति पनि आइसके । पशु कार्यालयबाट स्थानीय तहमा खटिने कर्मचारी पनि साउनबाटै कार्यालय आइरहेका छन् । तर पहिलेदेखि नै भाडामा रहेको नगरपालिका भवनलाई कर्मचारी थपिएपछि गाह्रो भएको छ । लेखा अधिकृत सानुबाबु परियार कृषि र स्वास्थ्य सम्बन्धित कर्मचारीहरू आए पनि कार्यकक्ष नगरपालिका भवनमा मिलाउन नसकिएको स्विकार्छन् । ‘स्वास्थ्यका कर्मचारीलाई नगरपालिका नजिकैको कीर्तिपुर अस्पतालमा राख्ने गरेका छौं,’ परियारले भने, ‘शिक्षाका तीनै जनालाई गाह्रो गरी भए पनि नगरपालिकामै कार्यकक्ष मिलाएका छौं ।’ उनले पशु र कृषि कार्यालयका सबै कर्मचारी साबिककै कार्यालयमा जिम्मेवारी सम्हालिरहेका छन् । नगरपालिकाभित्र कार्यरत झन्डै ४ सय शिक्षकको पहिलो चौमासिक र लगभग ८० स्वास्थ्य सम्बन्धित कर्मचारीको तलब निकासा गरिसक्यो । ‘सबै कर्मचारीले हाजिरी गर्न नगरपालिकामै आउनुपर्ने भएकाले कठिनाइ हुन्छ,’ उनले भने । नगरपालिकाको नयाँ भवन निर्माण सम्पन्न हुने स्थितिमा रहेकाले केही दिनमा सबै कर्मचारीलाई सोही भवनमा व्यवस्थापन गरिने उनले जानकारी दिए ।

बूढानीलकण्ठ नगरपालिकामा थपिएका कर्मचारीहरूमध्ये कसैलाई वडा कार्यालय त कसैलाई स्वास्थ्य संस्थामै राखिएको छ । नगरपालिकाका अनुसार प्राविधिक कार्यालयबाट आउनुपर्ने दुई जना कर्मचारीबाहेक अन्य सबै जनाले उपस्थिति जनाइसकेका छन् । कार्यकारी अधिकृत विश्वराज मरासिनीले भने, ‘कृषि, पशु, शिक्षा र जिल्ला समन्वय समितिबाट आउनुभएका कर्मचारीलाई नगरपालिकाकै भवनमा कार्यकक्ष मिलाएका छौं ।’ महिला तथा बालबालिका शाखालाई वडा नं. ८ को कार्यालयमा स्थापना गरिएको उनले बताए । तारकेश्वर नगरपालिकामा पनि लगभग १० जना अहिले थपिएका छन् । ‘कृषि र पशु सेवाका कर्मचारीलाई साबिककै सेवा केन्द्रमा राखी शाखा स्थापना गरिएको छ,’ सूचना अधिकारी राजु तिमल्सिनाले भने, ‘शिक्षा र महिला तथा बालबालिका शाखालाई नगरपालिकामै मिलाएका छौं ।’ स्वास्थ्य शाखाका कर्मचारीलाई धर्मस्थलीमा रहेको खाली अस्पतालको भवनमा राख्ने नगरपालिकाको तयारी छ । सकेसम्म भाडामा कोठा नलिई कर्मचारी व्यवस्थापनको योजना रहेको तिमल्सिनाले बताए ।

संविधानअनुसार नगरपालिकामा ९ वटा शाखा छन् । सामान्य प्रशाशन शाखा, सहरी पूर्वाधार विकास शाखा, वन वातावरण तथा विपद् व्यवस्थापन शाखा, महिला बालबालिका शाखा, न्याय कानुन तथा मानव अधिकार व्यवस्थापन शाखा रहनेछन् । यी ९ वटै शाखाअन्तर्गतका ३८ उपशाखा हुन्छन् । स्थानीय तहको काम र जिम्मेवारी बढेसँगै कर्मचारीको आवश्यकता पनि बढेको छ । तर कर्मचारी पुगे पनि आवश्यक भौतिक संरचना भने अपुग रहेको नगरपालिकाहरूले जनाएका छन् ।

उपत्यका

अल्जाइमरका रोगी अस्पताल जाँदैनन्

- फातिमा बानु

 काठमाडौं –एउटै कुरा दोहोर्‍याएर भनिरहने र ऐना हेरेर आफैंसँग घण्टौं गफिने समस्या देखिएपछि कपनका एक वृद्धलाई वीर अस्पताल पुर्‍याइयो । धेरै दिनपछि रिपोर्ट आयो– उनलाई अल्जाइमर समस्या रहेछ । ७१ वर्षीय उनलाई यस्तो समस्या देखिएको १० वर्ष भइसकेको थियो । वृद्ध अवस्थाको सामान्य समस्या मानेर उपचार नखोजेको उनका छोराले बताए । ‘६० वर्ष कटेपछि उहाँ आफूले भर्खरै भनेका कुरा पनि बिर्सन थाल्नुभयो, अब आफन्त पनि चिन्नुहुन्न,’ उनले भने ।अल्जाइमर विशेषगरी ज्येष्ठ नागरिकमा देखिने स्वास्थ्य समस्या हो । ६५ वर्ष कटेका ४४ प्रतिशत मानिसमा कुनै न कुनै रूप र तहमा यस्तो समस्या देखिने गरेको चिकित्सकहरू बताउँछन् । तर, यसलाई रोग नै नमान्ने प्रवृत्तिका कारण रोगीहरू उपचारको पहुँचबाट टाढा भएको पाटन अस्पतालका वृद्धवृद्धा रोग विशेषज्ञ डा. रमेश कँडेलले बताए । ‘स्वास्थ्यकर्मीलाई नै यो रोगबारे राम्ररी थाहा छैन, दुरदराजका बिरामी त उपचारबारे थाहै नपाई मरिरहेका छन्,’ डा. कँडेलले भने, ‘व्यापारीले ग्राहक कुरेजस्तो बिरामी कुरेर बस्नुपरेको छ ।’यो रोग लागेका बिरामीमा स्मरण शक्ति घटदै जाने, सोच्ने, तर्क गर्ने क्षमतामा ह्रास आउँदै जाने, दैनिकी नै चलाउन नसक्ने, हुँदै नभएका कुरा देख्नेजस्ता लक्षण देखिन्छन् । डा.कँडेल भन्छन्, ‘बेलैमा उपचार नभए यस्ता बिरामी पूर्ण रूपमा पागल हुन सक्छन्, जहाँ पायो त्यहीं दिसापिसाब गर्न थाल्ने र कतिपय नांगै हिँड्न थाल्ने हुन्छन् ।’ एक सयमध्ये दुई तिहाइ वृद्धवृद्धामा अल्जाइमर रोग देखिने गरेको उनले बताए ।नेपालमा हाल यो रोगका कति बिरामी छन् भन्ने यकिन तथ्यांक छैन । ‘अल्जाइमर डिजिज इन्टरनेसनल’ को तथ्यांकअनुसार सन् ०१५ सम्ममा यस रोगबाट पीडितको संख्या ७८ हजार पुगिसकेको छ । सन् ०३० सम्म यो रोगका बिरामी १ लाख ३४ हजार पुग्ने संस्थाको अनुमान छ । पाटन अस्पतालको तथ्यांकअनुसार हालसम्म १ सय २० जना बिरामी उपचारका लागि अस्पताल आएका थिए ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर ५ करोड मानिस यो रोगबाट पीडित छन् । ६५ वर्षभन्दा कम उमेर समूहका ४ प्रतिशतलाई पनि यो रोग लाग्न सक्ने गरेको तथ्यांक छ । सरकारले यो रोगबारे चेतना फैलाउन नसक्दा बिरामीहरू उपचारको पहुँचबाट टाढा भइरहेको डा. कँडेलले बताए । ‘लामो समयसम्म रोग पालेर बस्छन्, अस्पताल आइपुग्दा उनीहरूको अन्तिम अवस्था भइसकेको हुन्छ, बचाउनै मुस्किल भइरहेको छ,’, उनले भने । अल्जाइमरको समयमै उपचार हुन सकेमा बिरामीको आयु थप १५ वर्षसम्म बढाउन सकिने चिकित्सकहरू बताउँछन् । उक्त रक्तचाप, मधुमेह, आधुनिक जीवनशैलीका कारण यो रोगका बिरामी थप बढदै गइरहेको अल्जाइमर चिकित्सक बताउँछन् । नेपालमा भने यस रोगका विशेषज्ञ र उपचार गरिने अस्पतालको न्यून संख्याका कारण अधिकांश बिरामी उपचारको अभावमा बाँचिरहेका छन् । अल्जाइमर रोगको उपचारमा सरकारले एक लाख रुपैयाँ सहयोग दिन्छ । राहत लिने झन्झटिलो प्रक्रियाका कारण बिरामीहरू सेवा लिनबाट पनि वञ्चित छन् । पाटन अस्पतालमा हालसम्म ९ जनाले मात्रै सरकारी राहतबाट उपचार गरेको तथ्यांक छ ।

उपत्यका

हिजरी संवत् १४३९ सुरु

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– इस्लामी नयाँ वर्ष हिजरी संवत् १४३९ सुरु भएको छ । मग्रिबको नमाज (सूर्यास्तपछिको प्रार्थना) पछि नयाँ वर्ष हिजर संवत्को पहिलो महिना ‘मोहर्ररम’ सुरु भएको हो । इस्लाम धर्मका सबै चाडपर्व हिजरी संवत् अर्थात् हिजरी पात्रोअनुसार नै तय हुन्छन् ।नयाँ वर्षको खुसियालीमा नेपालमा पनि केही वर्षदेखि विशेष कार्यक्रम हुने गरेको छ । धार्मिक र सामाजिक कार्यक्रम गरी नयाँ वर्ष स्वागत गरिन्छ । हिजरी पात्रोको नवौं ‘रमजानल मुबारक’ महिनामा मुसलमान एक महिना व्रत (रोजा) बस्छन् र ३० दिनपछि इद उल फित्र मनाउँछन् । यस्तै, १२ औं जिलहिज्जा महिनामा धनाढ्य र सक्षम मुसलमान हज (तीर्थाटन) गर्न साउदी अरबको मक्का र मदिना जान्छन् ।

उपत्यका

ज्येष्ठ नागरिकलाई भाडा छुट

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अन्नपूर्ण यातायातले ज्येष्ठ नागरिक र शारीरिक अशक्तता भएका व्यक्तिका लागि भाडा पूर्ण रूपमा छुट दिएको छ । ९ वटा बसबाट मंगलबारदेखि सेवा सुरु गरेको अन्नपूर्ण यातायातले त्यस्तो छुट दिएको हो । राजधानीमा मंगलबारदेखि सञ्चालनमा आएको ३४ सिटे बसको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले शुभारम्भ गरे ।

 

 

 

Page 7
Page 8
सम्पादकीय

गाउँ–नगर समृद्धिको यात्रा

पुन:संरचना गरेर अधिकारसम्पन्न बनाइएका स्थानीय तहमा जनप्रतिनधि छान्ने चुनाव सकिएको छ । वैशाख ३१, असार १४ र असोज २ गरी तीन चरणमा स्थानीय तहको चुनाव गराइएको थियो । उम्मेदवारको मृत्युपछि स्थगित सप्तरीको राजविराज वडा नम्बर १५ मा बिहीबार मतदान भएसँगै स्थानीय तहमा आगामी पाँच वर्षका लागि मतदाताले जनप्रतिनधि छान्ने कार्य पूरा भएको छ । तीन चरणको निर्वाचनमा मतदाताले उत्साहपूर्ण सहभागिता जनाएर लोकतन्त्रप्रति बलियो विश्वास प्रकट गरेका छन् । कार्यकारिणी, व्यवस्थापकीय र न्यायिक अभ्यास गर्ने स्थानीय सरकार बनाउने अवसर सदुपयोग गर्दै उनीहरूले गाउँ–नगर समृद्धिको ढोकासमेत खोलेका छन् । तेस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । त्यसैले अहिले निर्वाचितलाई नियमित काम गर्न केही दिन लाग्छ । पहिलो र दोस्रो चरणबाट निर्वाचित जनप्रतिनिधिले भने जिम्मेवारी सम्हालिसकेका छन् । तर, उनीहरूले पूर्ण रूपमा अधिकार उपयोग गर्दै काम गर्न भने सकेका छैनन् । स्थानीय तहलाई मार्गदर्शन गर्ने कानुन निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिहरू अलमलिएका थिए । संविधानले तोकेको अधिकार सूचीलाई प्रस्ट व्याख्या गरिएको स्थानीय तह शासन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक बुधबार व्यवस्थापिका–संसद्ले पारित गरेको छ । विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भई ऐनका रूपमा कार्यान्वयनमा आएपछि स्थानीय तहका पदाधिकारीले पूर्ण रूपमा काम गर्न सक्नेछन् । अब अन्तरसरकारी वित्त व्यवस्थापन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसम्बन्धी विधेयक संसद्ले पारित गर्न बाँकी छ । यी दुई विधेयक पनि कानुन बनेर आएपछि जनप्रतिनिधिले नअलमलिई कार्यसम्पादन गर्न सक्छन् ।

स्थानीय तहले संविधान र कानुनले तोकेबमोजिम आफैं नियम, कानुन बनाउन पाउनेछन् । स्थानीय तहले नागरिकसँग बढी सरोकार रहने सहकारी संस्था, विभिन्न कर तथा सेवा शुल्क, आधारभूत तथा माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य–सरसफाइ, बजार व्यवस्थापन, सडक, सिँचाइ, खानेपानी, साना जलविद्युत् आयोजना, भाषा संस्कृति संरक्षणलगायत क्षेत्रमा आफैं नीति–नियम तथा कार्यक्रम बनाउन र तिनलाई कार्यान्वयन गर्न पाउँछन् । त्यसैले स्रोतसाधन पहिचान र परिचालन गर्दै आआफ्नो गाउँ–नगरलाई समृद्ध बनाउने हात जनप्रतिनिधिकै छ । स्थानीय सरकारको अभ्यास पहिलोपटक हुँदै छ । अहिले चुनिएका जनप्रतिनिधिको अधिकांश समय पूर्वाधार तयार र व्यवस्थापनमा जाने देखिन्छ । उनीहरूको कार्यकुशलताबाटै स्थानीय तह संस्थागत हुने र लोकतन्त्र पनि सुदृढ बन्ने हो । जनप्रतिनिधिहरू नागरिक र राज्यलाई जोड्ने पुल हुन् । उनीहरूको भूमिकाले नागरिकको राज्यप्रति विश्वास र भरोसा बलियो बनाउँछ । त्यसैले जनप्रतिनिधिहरूले आफ्नो महत्त्वपूर्ण जिम्मेवारी इमानदारसाथ निर्वाह गर्न जरुरी छ ।

नागरिकले प्रत्यक्ष सरोकार रहने नजिकको राज्यको निकायमा डेढ दशकपछि जनप्रतिनिधि पाएका छन् । २०५९ सालयता कहिले दलीय संयन्त्र त कहिले कर्मचारी मात्रको भरमा स्थानीय निकाय सञ्चालन गरिएका थिए । यसबीचमा स्थानीय तहमा भ्रष्टाचार, विकास निर्माण तथा सेवाप्रवाहमा ढिलासुस्ती भएको गुनासो अत्यधिक बढ्यो र त्यसको कारण जनप्रतिनिधि नहुनुलाई औंल्याइएको थियो । अब जनप्रतिनिधि हुनुको महत्त्व निर्वाचितहरूले कार्यसम्पादनका क्रममा देखाउनुपर्नेछ । स्थानीय सरकार सञ्चालनका क्रममा पार्टीगत स्वार्थका आधार राजनीतिक दलहरूबाट सहयोग/असहयोगको गलत अभ्यास हुने जोखिम पनि छ । स्थानीय सरकारलाई सफल बनाउने गरी राजनीतिक दलहरूबाट रचनात्मक भूमिका निर्वाह गरिनुपर्छ । स्थानीय नागरिकको साथ सँगै निरन्तर निगरानी र खबरदारी पनि जरुरी छ । स्थानीय निर्वाचनले संविधान कार्यान्वयनलाई गति दिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि ऊर्जा प्रदान गरेको छ । यी दुई निर्वाचन भएसँगै संवैधानिक संक्रमण पनि अन्त्य हुनेछ र त्यसपछि मुलुक राजनीतिक स्थिरतातर्फ लम्किन सक्छ जसले मुलुककै समृद्धितिरको यात्रालाई
सहज बनाउनेछ ।

दृष्टिकोण

निर्वाचित कुलीनतन्त्रको जगजगी

- चन्द्रदेव भट्ट

चन्द्रदेव भट्ट 

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । दूरदराजमा बसोबास गरेर जीवनयापन गर्नेहरू अब साँच्चै प्रजातन्त्र र विकासको अनुभूति गर्न पाइनेछ र जीवनयापन गर्न सजिलो हुनेछ भन्ने आश लिएर बसेका छन् । तर प्रजातन्त्रले साँच्चै नागरिकका यी चाहनाको परिपूर्ति कुन हदसम्म गर्छ भन्नेचाहिँ भोलिका दिनमा हामी आन्तरिक राजनीति र बाह्य चुनौतीलाई कसरी सम्बोधन गर्छौं भन्नेमा निर्भर हुनेछ । त्यसैगरी हामीमा अन्तरनिहित राजनीतिक संस्कारलाई कसरी प्रयोग गर्छौं भन्ने कुराले पनि प्रजातन्त्रको भविष्य निर्धारण गर्नेछ । प्रजातन्त्रका लागि संसारमा सबैभन्दा बढी आन्दोलन र उथलपुथल भएका देशहरूमध्ये नेपाल अग्रपङ्क्तिमै पर्छ । संसारका धेरैजसो आन्दोलन ‘स्वतन्त्रता’का लागि भएका छन्, तर पछिल्लो समय प्रजातन्त्रको लहरसँगै अधिकारमा आधारित पहिचानको राजनीतिले अग्रस्थान ओगटेको देखिन्छ । पहिलेका धेरै आन्दोलन बाह्य शक्ति (साम्राज्य शक्ति) विरुद्ध भएका थिए भने पछिल्ला आन्दोलनहरू राष्ट्र–राज्यभित्रै भएका छन् । शीतयुद्धको अन्त्यपछि विकास भएको खुल्ला राजनीतिक वातावरणले अवसर र चुनौती दुवै ल्याएको देखिन्छ । यो बीचमा राजनीतिको व्यवस्थापन गर्न नसक्ने राष्ट्रहरू आन्तरिक सङ्घर्ष तथा द्वन्द्वको चपेटामा परेका छन् । धेरैजसो सङ्घर्ष र द्वन्द्व अधिकार र पहिचानका लागि भएका छन् । परिणमस्वरूप नयाँ–नयाँ राज्यको जन्म हुनपुगेको छ । संयुक्त राष्ट्र संघको स्थापना हँुदा यसका सदस्य राष्ट्रहरूको संख्या ५५ थियो । तर राष्ट्र संघको स्थापना र शीतयुद्धको अन्त्यपछि संसारमा स्वतन्त्र राष्ट्रहरूको संख्या पनि बढ्दै गएको छ र यो क्रम जारी छ । शीतयुद्धपछिको समस्या भनेको ‘राष्ट्र र राज्य’ बीचको व्यवस्थापनको हो । यसलाई समाधान गर्न एउटै उपाय आन्तरिक राजनीतिको सही व्यवस्थापन र प्रजातन्त्रलाई निश्चित भूगोल (देश) भित्र बसोबास गर्ने सबै नागरिकले अनुभूति गर्ने वातावरण सिर्जना गर्नु हो ।

यति हँुदाहँुदै पनि हामी नेपालीले गौरव गर्ने कुरा के हो भने विगतमा नेपालमा भएका विभिन्न किसिमका आन्दोलनको असर राष्ट्रिय स्वाधीनता र अखण्डतामा परेन । हामी राष्ट्र–राज्यको रूपमा अटल भएर विश्व मानचित्रमा रहँदै आएका छौं । संसारका धेरै राष्ट्र विश्व मानचित्रबाट हराएका छन् । हाम्रो समस्या के हो भने हामीले पटक–पटक प्रजातन्त्रका लागि आन्दोलन गर्‍यौं । सुगौली सन्धिपछि हामी आन्तरिक कलहले ग्रसित भयौं । हामीकहाँ द्वन्द्व आन्तरिक बढी देखिन्छ । यसको अर्थ के हो भने हामीमा आन्तरिक समस्या निश्चय नै बढी छन् । यी आन्तरिक समस्याको पछाडिका कारणहरू हामीले कहिल्यै खोज्ने कोसिस गरेनौं । हामीले एकपछि अर्काे सत्ता परिवर्तनमा मात्र राजनीतिलाई केन्द्रित गर्‍यौं । तर प्रजातन्त्रका अन्तरवस्तुहरू कसरी व्यवहारमा ल्याइएका छन्/ल्याइनुपर्छ, त्यतातिर हाम्रो ध्यान कम गएको देखिन्छ । सायद यही कारणले होला, अहिलेसम्म नेपाली नागरिकले सही अर्थमा प्रजातन्त्रको अनुभूति गर्न सकेका छैनन् ।

त्यसो त संसारका प्रजातान्त्रिक रूपले बलियो मानिएका देशहरूमा पनि उदारवादी प्रजातन्त्रमा समस्या देखिएको छ र उदारवादी प्रजातन्त्रको केन्द्रविन्दु मानिएका ‘पश्चिमा राष्ट्रहरू’मै ठूलो भूकम्प आएको छ । त्यहाँ पनि प्रजातन्त्रप्रति जनताको गुनासो बढ्दैछ । यसका पछाडि मूलत: दुइटा कारण छन्– पहिलो, बसाइँ–सराइ र प्रविधिले सामाजिक संरचनामा ल्याएको परिवर्तन । दोस्रो, राजनीतिक अर्थतन्त्रमा आएको परिवर्तन । पहिलो कारणले ती राष्ट्रहरूलाई पनि परम्परागत तरिकाबाट प्रजातन्त्रलाई सञ्चालन गर्न नसक्ने अवस्थामा पुर्‍याएको छ । हाल नवआगन्तुक नागरिक र तिनका संस्कृति, परम्परा र रहनसहनलाई पनि स्थान दिनुपर्ने अवस्था देखिएको छ । तर योसँगै आएको राष्ट्रियताको पुनर्जागरणले प्रजातन्त्रमाथि ल्याउनुपर्ने समसामयिक परिवर्तनलाई पछाडि धकेलिदिएको छ । राष्ट्रियतामा आएको यस्तो पुनर्जागरण पछाडिको मुख्य कारण सामाजिक संरचनामा आएको परिवर्तन नै हो । दोस्रो कारण, पटक–पटकको आर्थिक मन्दी र आर्थिक असमानता हो । यसले गर्दा प्रजातन्त्रको उपभोग सर्वसाधारण नागरिकले गर्न पाएनन् र यो एउटा ‘अभिजात्य’ वर्गको लागिमात्र सीमित हुनपुग्यो । पछिल्ला दिनमा अर्थराजनीति सम्बन्धी लेखिएका प्राज्ञिक पुस्तकहरूमा यसको व्यापक बहस भएको देखिन्छ । जे भए पनि आज आएर पश्चिमा उदारवादी प्रजातन्त्रमा ठूलो सङ्कट आइपरेको छ र यसको असर संसारका अरू देशमा पनि प्रस्टै देख्न सकिन्छ ।

नेपालको प्रजातन्त्रमा पनि आन्तरिक र बाह्य चुनौती प्रशस्त देखिन्छन् । आन्तरिक रूपमा हामीले राजनीतिको सही व्यवस्थापन गर्नसकेका छैनौं, जसले गर्दा राजनीतिक अस्थिरता निम्तिएको छ । पटक–पटकका राजनीतिक परिवर्तनहरूले एउटा फरक प्रकृतिको राजनीतिक र सामाजिक अवस्था सिर्जना भएको छ । नयाँ–नयाँ किसिमका अधिकारको पनि हामीले संविधानमा व्यवस्था गर्दै आएका छौं । यो साँच्चै राम्रो पक्ष हो, तर यसको अर्को पाटो भनेको संविधानमा प्रदत्त यी अधिकार परिपूर्ति गर्न चाहिने आधारभूत विषयवस्तुमा हामीले खासै ध्यान दिनसकेका छैनौं । यसले गर्दा हामीकहाँ पनि प्रजातन्त्र केही वर्ग र व्यक्तिका लागिमात्र सीमित हुनपुगेको छ । यी परिवर्तनले सिर्जना गरेको परिस्थितिलाई गन्तव्यस्थानसम्म पुर्‍याउन हामीलाई हम्मे–हम्मे परेको देखिन्छ । उदाहरणका लागि २०६२/६३ को जनआन्दोलनले मुलुकमा एउटा फरक राजनीतिक व्यवस्था ल्याएको छ । तर यसले ल्याएको परिवर्तनलाई व्यवस्थापन गर्ने न क्षमताको अभिवृद्धि भएको छ, नत राजनीतिक संस्कार नै विकास भएको छ । यसले गर्दा केही समयपछि हामी आफू परिवर्तन हुनुभन्दा व्यवस्था परिवर्तन गर्ने अवस्था सिर्जना गर्नतर्फ अगाडि बढ्छौं । यो हाम्रो विगतको अभ्यास पनि हो ।

प्रजातन्त्रलाई सही अर्थमा बुझ्न नसक्नु र बुझे पनि त्यसलाई व्यवहारमा लागू गर्न नसक्नु हाम्रो अर्को समस्या हो । प्रजातन्त्रको बुझाइको सवालमा हामी धेरै हदसम्म शब्दजालमै अल्झिएका छौं, यसको सारमा पुग्ने कोसिस गरेका छैनौं । उदाहरणका लागि हामीले प्रजातन्त्रलाई राजासँग जोड्यौं र लोकतन्त्र शब्द प्रयोगमा ल्यायौं । राजमार्गलाई लोकमार्ग बनायौं, तर दुवै शब्दको सही अर्थ खोज्ने कोसिस हामीले कहिल्यै गरेनौं । ‘प्रजनन’ प्रक्रियाबाट जन्मेकालाई ‘प्रजा’ भनिन्छ । प्रकर्षेण जायते इति प्रजा: भनेर शास्त्रमा स्पष्ट रूपमा व्याख्या गरिएको छ । तर हाम्रा कुनै पनि विद्वानले यो कुरा बाहिर ल्याएनन् र झुटलाई नै सत्य प्रमाणित गर्ने कोसिस गरे । यस्तो कमजोर र पूर्वाग्रही बुझाइ भएको समाजमा प्रजातन्त्रजस्तो संवेदनशील र जटिल शासन व्यवस्थालाई सफल अभ्यास गर्न सकिएला भन्ने कुनै निश्चित छैन । त्यसैगरी पछिल्ला दिनमा ‘निर्वाचित कुलिनतन्त्र’ (ओलिगार्की) अथवा प्रजातान्त्रिक कुलिनतन्त्रको विकास भएको छ र यसले शासन व्यवस्थाप्रति अविश्वास पैदा गरेको छ । भ्रष्टाचार, राजनीतिक असन्तुष्टि र राजनीतिक अस्थिरता सबै समाजमा हुन्छन् । रामराज्य रामको पालामा पनि थिएन, तर भ्रष्टाचार, अस्थिरता र अन्याय नै समाजको पहिचान र राष्ट्रका संरचनाहरूलाई नै त्यसको लागि प्रयोग गरिन्छ भने यो साँच्चै चिन्ताको विषय हो ।

पछिल्लो समय राजनीति र आन्दोलन पेसाका रूपमा विकसित भयो र यी दुइटै क्षेत्रमा लागेकाहरूले सबै सुविधा उपभोग गर्न पाए । तिनीहरूको आर्थिक प्रगति दिन दुगुना रात चौगुना भयो । अर्थात् राजनीतिमा लाग्ने अधिकांशले आफ्नो कर्तव्य छाडेको देखिन्छ । यस क्षेत्रमा लागेको एउटा व्यक्तिले अर्को व्यक्तिको र एउटा वर्गले अर्को वर्गको संरक्षण गर्ने परम्परा विकास भएको छ र यो सबै क्षेत्रमा व्याप्त छ । त्यो दायराभित्र पर्न नसक्नेहरूका लागि प्रजातन्त्र भनेको आन्दोलन, सत्ता परिवर्तन र निर्वाचन मात्र हो । अहिले धेरैजसो राजनीतिक दलमा कार्यकर्तालाई मात्र नागरिक सम्झिने प्रवृत्ति हावी भएको छ र यस्तो प्रवृत्तिले कार्यकर्तालाई मात्र संरक्षण गर्दै आएको छ । योग्यता, आवश्यकता र अन्य यस्तै पक्ष अहिलेको सन्दर्भमा गौण भएर गएका छन् । यहाँनिर चाणक्यको भनाइ सान्दर्भिक देखिन्छ । उनले भनेका छन्, ‘पूज्य हुनुपर्ने व्यक्तिको जहाँ अनादर हुन्छ, अपूज्य अर्थात् सजाय पाउनुपर्नेहरू जहाँ पुरस्कृत र सम्मानित हुन्छन्, त्यो मुलुकमा दुर्भिक्ष, मरण र भय यी तीन कुरा सदा रहिरहन्छन् र समाजमा न्यायको स्थापना हुनसक्दैन ।’ नेपाल यही चक्रव्यूहमा अल्झिएको छ ।

हाम्रो अर्को समस्या भनेको राष्ट्रियताले ल्याएको तरङ्ग हो । राष्ट्रियता कसरी बुझ्ने ? यो कसको लागि हो र कसको लागि होइन ? यी अति संवेदनशील प्रश्न हुन्, तर हामीसँग यी प्रश्न अनुत्तरित भएर गएका छन् । राष्ट्रियता र प्रजातन्त्रलाई सँगै लैजानु ठूलो चुनौती भएको छ । किनभने प्रजातन्त्रले स्वतन्त्रताको वकालत गर्छ भने राष्ट्रियताले संकुचनको परिकल्पना गर्छ । राष्ट्रियताचाहिँ ‘तिमी र म’ भन्ने भावनामा आधारित हुन्छ । यस अर्थमा राष्ट्रियताको बुझाइलाई सही दिशामा लैजान सकिएन भने राष्ट्र द्वन्द्वमा फँस्ने सम्भावना बढ्दै जान्छ । अर्कोतर्फ भूमण्डलीकरण र सूचनामा आएको परिवर्तनले सबै देशको शास्त्रीय मान्यतामा आधारित राष्ट्रियतामा सङ्कट ल्याएको छ र राष्ट्रिय नीतिहरू धेरै हदसम्म एकअर्काे देशबाट प्रभावित हुनगएका छन् । यो अहिलेको यथार्थ हो । तर धेरैजसो राष्ट्रले तीनवटा विषय राजनीति, न्याय र नीतिलाई केही हदसम्म आफ्नो नियन्त्रणमा राखेका छन् । यसले प्रजातन्त्र र राष्ट्रियतामाथि बाहिरबाट पर्नजाने प्रभावको न्युनीकरण गर्ने काममा मद्दत गर्छ । यस परिप्रेक्ष्यमा हामी कमजोर देखिन्छौं ।

प्रजातन्त्र र राष्ट्रियतासँग अर्को व्यापक छलफलमा आएको विषय हो– आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप । नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप छ । यो सत्य हो । तर यसका पछाडि विभिन्न कारण छन् । पहिलो कारण भनेको आन्तरिक राजनीतिक अस्थिरता नै हो । यसले गर्दा बाह्य शक्तिहरूलाई पनि आन्तरिक राजनीतिमा चलखेल गर्ने अवसर मिलेको छ । यसैगरी आन्तरिक राजनीतिक अस्थिरताले गर्दा बाह्य चुनौतीलाई सम्बोधन गर्ने क्षमतामा ह्रास आएको छ । हाम्रो मुलुकमा हुने गरेको आन्तरिक राजनीतिमा बाहिरी हस्तक्षेपको परिप्रेक्ष्य हेर्ने हो भने उर्दूमा प्रचलित सायरी बढी सार्थक देखिन्छ– हमें तो अपनों ने ही लुटा, गैरों में कहाँ दम था मेरी कश्ती भी वहीँ डुबी, जहाँ पानी कम था ।
यो पङ्क्ति कुन अर्थमा सान्दर्भिक हुन जान्छ भने धेरैजसो बाह्य हस्तक्षेप हामी आफंैले निम्त्याएका छौं । विगतमा पुर्खाहरूले अङ्ग्रेजसँग
लडेर यो देशको सार्वभौमिकतालाई अक्षुण्ण राखेका थिए । त्यसैगरी हाम्रो आर्थिक परनिर्भरता त्यस्तो बेला कमजोर हुन गएको छ, जुन बेला हामीसँग आधुनिकताका सबै वस्तु उपभोग गर्ने सामथ्र्य देखिएको छ । तर बदलिँदो विश्व अर्थराजनीतिले ल्याएका अवसरलाई आन्तरिक कलहका कारण उपभोग गर्नबाट वञ्चित हुनपुगेका छौं ।

अन्त्यमा, जसरी शान्ति किन्न सकिँदैन र किनेको शान्तिले व्यक्तिको आत्मसम्मानमा ठूलो धक्का पुर्‍याउँछ र सत्यलाई ढाकछोप गर्ने कोसिस गर्छ, त्यसैगरी ‘बनिबनाउ’ प्रजातन्त्रले पनि नागरिकको भलो गर्ने सम्भावना न्युन हुन्छ । किनेको शान्ति र बनिबनाउ प्रजातन्त्र दुवै चिरस्थायी हुँदैनन् । प्रजातन्त्र निरन्तर अभ्यासबाट परिष्कृत हुँदै जाने विषय हो । तर परिष्कृतीकरणको लागि प्रजातन्त्रवादी (व्यवहारमा, सिद्धान्तमा मात्र होइन) आवश्यक पर्छ । प्रजातन्त्रवादी संस्कारबाट मात्र प्रजातन्त्रको समृद्धि र जनताले आफ्ना अधिकारहरूको प्रत्याभूति गर्ने अवस्थाको निर्माण हुन्छ ।

पाठक मञ्च

भ्रष्टाचारविरुद्धको वैचारिक आन्दोलन

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको ‘मुलुकमा मौलाउँदो भ्रष्टाचार’ ले मननीय मात्र होइन, अब भ्रष्टाचारविरुद्ध सामाजिक आन्दोलन नै चलाउन अति जरुरी भइसकेको ताकेता गरेको छ । नयाँ संविधानमा न्याय व्यवस्था कस्तो हुन्छ भन्ने आम चासो फैलिएका बेला ‘यस्तै हुन्छ’ भन्ने ‘उदाहरण’ लाक्षणिक रूपमा देखा पर्न थालेको, शासकीय अराजकता, दण्डहीनता एवं भ्रष्टाचारको पराकाष्ठाले परिवर्तनलाई अभिशप्त बनाएर राज्यले आफ्नो चरित्र नै गुमाउने खतरा बढिरहेको बेला कानुनी राज र न्यायपूर्ण समाजको असल मनसायले पूर्व प्रधानन्यायाधीश यसरी निर्भीकतासाथ सदाचार र न्यायको पक्षमा उभिदिँदा निश्चय नै समाजले साहस र ऊर्जा पाउँछ । म सम्झन्छु, सुडान शान्ति मिसनमा पठाउन प्रहरीका लागि किनिएका एपीसी गाडी लगायतका सुरक्षा सामग्रीमा भएको असाधारण भ्रष्टाचारको मुद्दाबारे २०६८ फागुन १ गते तत्कालीन विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेले फैसलामा लेख्नुभएको थियो, ‘.....जानी–जानी पदको दुरुपयोग गरी राष्ट्रिय सम्पत्तिको बदनियतपूर्वक तवरले भ्रष्टाचार गरिन्छ भने यस अदालतले कानुनका रौँचिरा अनर्गल व्याख्या गरी आँखा चिम्लेर बस्न सक्दैन, अपराधीलाई सुनपानीले चोख्याउन सक्दैन ।....’ आज देशले यस्तै न्यायमूर्तिको आवश्यकता झन् बढेको अनुभव गरिरहेको छ ।
नेपालजस्ता अल्पविकसित राज्यमा हुने भ्रष्टाचारलाई ‘गरिबको घरमा गरिएको डकैतीजस्तै हो’ भनिन्छ । नेपालमा भ्रष्टाचार यसरी संस्थागत भइसकेको छ कि राजनीतिक भागबन्डा तथा सर्वत्र राजनीतीकरण, आलोपालो सत्ता, मन्त्रीहरूको बटालियन सबै भ्रष्टाचार लक्षित सर्वसत्तावादी गतिविधि हुन् भने नियुक्तिपूर्व हुने संसदीय सुनवाइ दण्डहीनताको बुकिङजस्तो हुनपुगेको छ । भ्रष्टाचारले समाजलाई नै आफ्नो सवार बनाएको प्रतीत हुन्छ । लोकले चिनेका, समाजले औँल्याएका, राज्यले वर्जित गरेका र कानुनले दण्डित गरिसकेका भ्रष्टहरूको समाजमा उत्तिकै देखिएको मान र शानबाट त्यस्तै जाहेर हुनथालेपछि ‘अपराधको रचना समाजमै हुन्छ, व्यक्तिले त्यसलाई कार्यान्वयन गर्छ’ भन्नुपर्ने हुन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ मंसिर २४ मा आयोजना गरेको भ्रष्टाचार विरोधी दिवसमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टहरूसँग निकट साक्षात्कार गरेर नै भनेका होलान्, ‘अब त भ्रष्टाचारीहरूले हामीलाई नै सिध्याउँछन् जस्तो छ ।’ यस्तो खतरनाक दबदबा निमिट्यान्न पार्न एक/दुईजना होइन, सयौँ सुशीला कार्की, गोविन्द केसीहरूको आवश्यकता छ । यसका लागि अन्त्यहीन सामाजिक आन्दोलनमा समाजका तमाम सदस्यको सक्रिय सहभागिता जरुरी छ ।
– चन्द्रमणि गौतम
बसुन्धरा, काठमाडौं

  

 आफैं बदलिनुपर्छ

भनिन्छ, संसार बदल्नु छ भने आफैं बदलिनुपर्छ । उत्तर कोरियाले गरेको परमाणु परीक्षणविरुद्ध एउटा संस्थाले नेपालबाट विरोध जनायो । उत्तर कोरियाली दूतावास अगाडि गरिएको धर्ना कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा राम्रै हलचल मच्चाएको थियो । नेपाली सञ्चार जगतले खासै महत्त्व नदिएको उक्त कार्यक्रम विरुद्ध सामाजिक सञ्जालमा अनेकौं प्रतिक्रिया आए । संसारलाई सखाप पार्ने प्रवृत्ति विरुद्ध आवाज उठाउँदा नेपाली समाजबाट आएका यावत प्रतिक्रियाले हाम्रो सोचको स्तर र प्रवृत्तिको पर्दाफास गरेको छ । नेपाली समाज राजनीतिक रूपमा विभाजित छ । सामाजिक रूपमा अचेतन छ, नैतिक रूपमा अस्वस्थ छ । हामीले राजनीतिक रूपमा कुनै शक्ति वा राष्ट्रको वकालत गरिरहँदा ती राष्ट्रका दम्भ र घमन्डले संसारलाई सखाप पार्न सक्छ भन्ने चेत हामीमा किन खुल्दैन ? अमेरिका वा पूर्व सोभियत संघमा रहेको आणविक अस्त्रको भण्डारण कुनै कारणवश गलत प्रयोग भयो भने त्यसले हामीमा पार्न सक्ने असरबारे किन सोच्दैन, यो समाज ? उत्तर कोरियासँंग भएको आणविक हतियार यदि कसै विरुद्ध प्रयोग हुन्छ भने हामी त्यसबाट सुरक्षित रहन सकौंला ? संसार दिनानुदिन सांँघुरिंँदैछ । दक्षिण कोरियामा नै हजारौं नेपाली कामदार कार्यरत रहेका छन् । उत्तर कोरियाले दक्षिण कोरिया, जापान या अमेरिकामाथि बोल्ने धावाले नेपालीलाई सुरक्षित राख्न सक्छ त ? संसारलाई सखाप पार्ने हर्कतलाई कथित राजनीतिक खोल ओढेर समर्थन गर्ने प्रवृत्तिले हाम्रो सोचको स्तर निर्धारण गरेको हुन्छ । त्यसो त कथित राष्ट्रवादको घोडामा सवार केपी ओली, सत्ताका लागि जे गर्न तयार शेरबहादुर देउवा अनि मानव रगतको छिटाहरूमा लतपतिएका पुष्पकमल दाहालले नेतृत्व गरेको हाम्रो राजनीतिक प्रवृत्तिबाट इमानदार र नैतिकवान संस्कारको कल्पना गर्न नसकिएला । यिनै दलहरूले चुनावमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरिरहेको सन्दर्भमा नेपाल परिवर्तनको आशा राख्नु आकासको फलमात्रै हो । सामाजिक स्तरमा विद्यमान नैतिक भ्रष्टता र विवेक शून्यताको अन्त्य नभएसम्म परिवर्तन सम्भव छैन । उत्तर कोरियाले गरेको आणविक अस्त्र परीक्षणको खुलेर समर्थन गर्ने हाम्रो संस्कारबाट कसरी आदर्श समाजको परिकल्पना हुनसक्ला ? संसारलाई हेरौं, तर परिवर्तन आफैंबाट सुरु गरौं ।
– उत्तम पुडासैनी
जोरपाटी, काठमाडौं


 डाक्टरसाबहरू दण्डहीनताको वकालतमा

ड्राइभरको लापरबाहीमा कारबाही गरे विरोध गर्ने अनि कालोबजारी मिसावट तथा अस्वाभाविक मूल्यमा वस्तु बिक्री गर्ने व्यापारीलाई कारबाही गर्दा विरोधमा उत्रने तथाकथित संगठनको भिडमा डाक्टसाब तपाईहरू पनि लापरबाहीपूर्वक काम गर्नेलाई कारबाही नहोस् भनेर आफ्नो संगठनको सामथ्र्य देखाउन मैदानमा ओर्लनुभयो हैन ? एक पटक सोच्नुस् त । भोलि निजामतीले भन्ला, लापरबाहीपूर्वक काम गर्नेलाई कारबाही गर्न पाइन्न । सेना, प्रहरीले भन्ला, लापरबाहीपूर्वक गोली चलाउनेलाई कारबाही गर्न पाइन्न । त्यस्तो बेला तपाईं डाक्टरसाबहरूको जवाफ के हुनेछ ? लापरबाही भन्ने कुरा दण्डनीय हो । तसर्थ दण्डहीनताको अन्त्यका लागि चालिने कदमको विरोध गर्नु कुनै पनि पेसा, व्यवसायमा आबद्ध संगठनको नैतिकताले नदिनुपर्ने हो ।
– सन्देश भट्टराई
इनरूवा, सुनसरी


सरकारले चिकित्सकहरूका लापरबाहीका कारण बिरामीको मृत्यु भए स्वयम् डाक्टरले नै क्षतिपूर्ति दिनुपर्ने ऐन ल्याउन लागेको छ । यदि यो विधेयक पारित भयो भने कुनै पनि डाक्टरले आफ्नो जिम्मेवारीमा बिरामी उपचार गर्ने छैनन् । यसको जिम्मेवारी कसले लिने ? सरकारले वा स्वास्थ्य मन्त्रालयले ? मान्छे बिरामी भएपछि उपचारका लागि नगई नहुने ठाउँ भनेको अस्पताल हो । अस्पताल मशानघाट बन्छ भने त्यसको विरोध हुनुपर्छ । कतिपय डाक्टर निर्दयी पनि देखिएका छन् । त्यसो भन्दैमा सारा चिकित्सक खराब भन्ने पनि त होइन । जो खराब छ, उसलाई नियम कानुनअनुसार कारबाही हुनुपर्छ । स्वास्थ्य क्षेत्रलाई नै प्रभाव पर्ने खालको विधेयक ल्याउनु ठिक होइन । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा उल्लेख भएअनुसार यदि छानबिन गर्दा डाक्टरको लापरबाहीका कारण कुनै पनि बिरामीको मृत्यु भएको प्रमाणित भएमा उचित क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ । यो मात्र पर्याप्त कानुन होइन, जो डाक्टरले मान्छेको जीवनमाथि खेलवाड गर्छ, उसको लाइसेन्स खारेज गरेर आजीवन त्यो पेसामा कार्यरत हुनदिन हँुदैन । अनि मात्र सन्तुलन हुन्छ । कतिपय डाक्टर बिरामीको आफन्तले सोधेका कुरासमेत राम्रोसँग उत्तर दिँदैनन् । के भएको छ, उपचारमा कति सुधार आएको छ या झन् जटिल बन्दै गएको छ । यस्ता विषयमा बिरामीका आफन्तलाई भनिदिने हो भने यो समस्या धेरै मात्रामा हल हुन्छ । सरकारले ल्याउन लागेको नीति नियम ठिक छ/छैन परामर्श गर्नुपर्छ । हचुवाको भरमा ऐन ल्याएर हुँदैन ।डाक्टरको पनि हृदय छ, उनीहरूका पनि जहान परिवार छन् । उनीहरू पनि मान्छे हुन् । उनीहरूमा पनि मानवता छ । जानेर, बुझेर मान्छे मार्ने काम डाक्टरबाट हुँदैन । त्यसैले डाक्टरलाई उपचारमा अंकुश लगाउने काम सरकारले बन्द गर्नुपर्छ । डाक्टरहरूले पनि आफ्नो कर्तव्य के हो, राम्रोसँग बुझ्नुपर्‍यो । बाँच्ने अन्तिम आशाको केन्द्र भनेकै अस्पताल हो । त्यसैले यसलाई सबैजना मिलेर बचाउनुपर्छ । कमाउने थलोको रूपमा मात्र अस्पताल लाग्नु भएन । मानवसेवा के हो भन्ने अस्पताल प्रशासन र डाक्टरले बुझनुपर्‍यो ।
– पुरुषोत्तम घिमिरे
जोरपाटी, काठमाडौं


 निर्वाचनको प्रारम्भिक संकेत

प्रदेश नं. २ को स्थानीय चुनावले धेरै पार्टीको जनाधारलाई प्रस्ट गरेको छ । यद्यपि पुरै परिणाम आइसकेको छैन । तथापि प्रारम्भिक मतपरिणामको संकेतले कुन पार्टी कति बलियो र कुन पार्टी कति पानीमा रहेछ भन्ने सन्देश दिएको छ । २ नं. क्षेत्रमा बैसाखमै चुनाव हुन नसक्नुमा राजपा पार्टीको हठ थियो । उसले मधेस भनेको हाम्रोमात्र हो । जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म हामी चुनाव बहिष्कारमात्र गर्दैनौं, सक्रिय रूपमा विफल पनि पार्छौं भनेर धम्की दिएपछि चुनाव रोकिएको थियो । अहिले आएर देखियो, राजपाको हैसियत । ६ पार्टी मिलेर बनेको राजपाभन्दा उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरम नै बलियो र मधेसी जनताको माया बढी पाउने पार्टीमा दरिएको छ । यो राजपा र विशेषत: महन्थ ठाकुर र राजेन्द्र महतोहरूका लागि शर्मनाकको विषय हो । अन्यथा राजपाले अधिक सिट जित्न सक्नुपथ्र्यो । जुन प्रारम्भिक संकेतले देखाएन । कांग्रेस र एमालेपछि मधेसको तेस्रो ठूलो र जनाधार रहेको पार्टीको रूपमा संघीय समाजवादी फोरम नै रहेको पुष्टि निर्वाचनले गर्दै छ । चुनावमा १ सयभन्दा बढी सिट जित्छौं भन्ने नेपाली कांग्रेसको दम्भ पनि तोडिएको छ । यद्यपि कांग्रेस तराईको ८ जिल्लामा सबैभन्दा बढी अग्रता लिने पार्टी बनेको छ । तर पनि आफैले अनुमान गरेको सिटभन्दा ५० प्रतिशतभन्दा पनि कम स्थानमा अग्रता लिनुले कांग्रेसको अनुमान र रणनीति विफल भएको छ । यो चुनावमा पनि दुबै राप्रपाको पत्ता साफ भएको छ । अब राप्रपाको भविष्य देखिँदैन । उता विजय गच्छदारको पार्टी र माओवादी पार्टीलाई पनि चुनावले रक्षात्मक अवस्थामा पुर्‍याएको छ । प्रारम्भिक संकेतले सबैभन्दा ठूलो कुरा मधेस भनेको कुनै एक पार्टी वा शक्तिको होइन, यो सबैको साझा फूलबारी हो भन्ने कुरालाई पुन: पुष्टि गरेको छ । यो चुनावमा सबैभन्दा ठूलो र राम्रो कुरा भनेकै साम्प्रदायिक सद्भाव कायम रहनु हो । यसले भविष्यमा मधेस सबै जातजातिको एकताले समृद्धिको मार्गमा अघि बढ्ने संकेत दिएको छ ।
– गोपाल देवकोटा
चावहिल, काठमाडौं


 पानीमा खेलाँची

केही वर्ष अघिदेखि गोठाटारमा गोठाटार भैंमल खानेपानीले पिउने पानीको वितरण गर्दै आएको छ । तर यो पानी गुणस्तरयुक्त छ वा छैन ? यसै भन्न सकिएन । उमालेर खाँदा पनि म साउनदेखि बिरामीको बिरामी छु । अझै राम्ररी हिँडडुल गर्न सकिरहेको छैन । अन्त साथीभाइकहाँ गएर १/२ दिन बस्दा चट्टै निको हुन्छ । तर कोठा फर्केपछि फेरि बिरामी परिहाल्छु । सधैं अरूकोमा बसेर साध्यै हुँदैन । अहिलेचाहिँ बल्ल पत्ता लाग्यो कि पानीको कारण बिरामी परिएको रहेछ । हामीकहाँ आउने पानीमा बीच–बीचमा लेदो पठाउँछ । भाँडा भरिने बेलामा लेदो आएको थाहा पनि हुँदैन र यस्तो पानी जति उमाले पनि खानलायक हुँदो रहेनछ । गएको साउनदेखि त ज्यादाजसो लेदो मिसिएको कालो पानी आउने गरेको छ । यसरी बीच–बीचमा लेदो आउँछ भने ट्यांकी सफा छैन भन्ने बुझिन्छ । त्यसमा पनि यो कम्पनीले हामीकहाँ कहिले २ दिनमा १ दिन, कहिले दिनमा २ पल्ट पानी यो के भएको हो ? म बसेको घरका मान्छे सबै बिरामी परेपछि हामीले पानीमा निरीक्षण गर्दा यस्तो पत्ता लागेको हो । पानीजस्तो कुरामा सानोमात्र त्रुटि भए धेरैको ज्यान जान सक्छ । यो खानेपानी संस्थानको हो वा प्राइभेट हो ? मलाई थाहा भएन । यो कम्पनीले पानीको नियमित जाँच गर्छ वा गर्दैन ? त्यो पनि थाहा छैन । अनि यो कम्पनी खोल्न स्वीकृति दिनेले अनुगमन गर्छ वा गर्दैन ? अनि सरकारी कर्मचारी, वडा कार्यालय, नगरपालिका लगायतका कम्पनीहरू के गरेर दिन बिताउँछन् ? के आम जनताको स्वास्थ्यप्रति यिनको पटक्कै जिम्मेवारी छैन ? आजकल हरेक चिज गुणस्तरहीन हुनथालेकाले गुणस्तर विभाग खारेजै गर्दा केही फरक पर्दैन । त्यो कम्पनीले केको गुणस्तर निर्माण गरेको छ र ? पानीजस्तो कुराको गुणस्तर मापन गर्न नसक्ने गुणस्तर विभाग किन राख्ने ? अनि देशभरिको खानेपानीको ठेक्का लिएको खानेपानी संस्थानको पनि जिम्मेवारी छैन ? के उसको स्वीकृतिविना खानेपानीका कम्पनी खुल्न सक्छन् ? गोठाटारमा पानीको मात्र होइन, छिनछिनमा बिजुली जाने र आउने गरेको छ, यसमा कुलमान घिसिङज्यूको दृष्टि पुगोस् भन्ने अपेक्षा गर्छु ।
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
महाकवि देवकोटा आश्रम, काठमाडौं


 युवालाई पलायन हुनबाट रोकौं

राजनीतिक दलहरू लोकतन्त्रका पहरेदार हुन् । उनीहरूको भूमिका र नीति तथा कार्यक्रमसँगै उल्लेखित नीतिलाई यथोचित कार्यान्वयन गर्ने सवालमा प्रमुख रहन्छ । देशमा विद्यमान आर्थिक, सामाजिक असन्तुलनलाई हटाएर समतामूलक समाज स्थापना नै राजनीतिक दलहरूको प्रमुख एजेन्डा हुनुपर्छ । तबमात्र हरेक तह र तप्काका युवा एक ठाउँमा गोलबन्दी बनेर देशको विकास र विस्तारमा एकजुट हुन सक्छन् । अनुभवी नागरिक अगुवाहरूको अनुभव तथा युवा क्षमताको जोशलाई मिश्रण गर्नसके मात्र देशको विकासले गति लिन सक्छ । विचारमा उदार हुन नसके कसैलाई पनि अगाडि बढ्न दिँदैन । संकुचित विचारले मानिसको दक्षता र क्षमताको कदर गर्दैन । मुलुकमा ठूलठूला राजनीतिक र सामाजिक परिवर्तन भइसकेका छन् । राणाशासन र पञ्चायत विरुद्ध सयौं युवाले सहादत प्राप्त गरेका छन् । युवाकै जोश, जाँगरमा बहुदल र लोकतन्त्र प्राप्ति भएको हो । प्रत्येक राजनीतिक परिवर्तनमा युवा पंक्ति अग्रपंक्तिमा थियो । तर राजनीतिक परिवर्तनपश्चात युवालाई मुलुकभित्र दिइने अवसरमा भने राजनीतिक नेतृत्वमा परिवर्तन देखिएन । युवाको जीवनस्तर र जोश, जाँगरलाई सकारात्मक दिशा प्रदान गर्न राजनीतिक दल असफल भएको देखिन्छ । २१ औं शताब्दीमा प्रविधिमा आएको अभूतपूर्व विकासको कारणले गर्दा संसार झन् साँघुरिएको छ । हजारौं युवा विदेशी भूमिमा अर्धरोजगारीका लागि पलायन भएका छन् । जसको वास्तविक तथ्याङ्क कुनै निकायसँंग छैन । राज्य प्रत्येक नागरिकको अभिभावक हो । त्यसकारण नागरिकको सेवा, सुरक्षा तथा उचित रोजगारीको अवसर सिर्जना गर्नु उसको पहिलो दायित्व हो । युवाको ठूलो समूह पलायनवादी सोच र चिन्तनबाट ग्रस्त छ । किनभने मुलुकले अवसर नदिँदा र युवाको क्षमता र योग्यताको कदर नगर्दा यो अवस्था आएको हो । त्यसकारण युवाको योग्ता, क्षमताको कदर हुनु जरुरी छ । यदि युवा पलायनको अवस्था नरोक्ने हो भने विकासको कल्पनै नगरे हुन्छ ।
– दुर्गाप्रसाद कपाडी
गन्यापधुरा–५, डडेलधुरा

Page 9
विविधा

चुनावपछिका प्रमुख चुनौती

- श्रीकृष्ण अनिरुद्ध गौतम

स्थानीय तहका लागि तेस्रो चरणको निर्वाचन सम्पन्न भएको भोलिपल्टै परेको संविधान दिवस तीन प्रमुख दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका लागि निकै सुखद् हुनपुग्यो । किनभने मधेस केन्द्रित दलहरूको आन्दोलन र भारतद्वारा लगातारको असहयोगका कारण विगत दुई चरणमा रोकिएको प्रदेश २ को स्थानीय तहको निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यसलाई तीन प्रमुख दलको संयुक्त विजय र त्यसमा पनि विशेष गरेर एमालेको अडानको जित मान्दा निश्चय नै अन्यथा हुने छैन । यहाँ प्रश्न उठ्न सक्छ, एमालेलाई किन श्रेय जबकि प्रदेश २ को स्थानीय तहमा कांग्रेसले अग्रता लिइरहेको र एमाले, संघीय समाजवादी फोरम र माओवादी केन्द्र उसलाई पछ्याइरहेका छन् । निश्चय नै तेस्रो चरणमा कांग्रेस अघि र एमाले निकै पछि परेको छ, तर मुद्दाका हिसाबले भने संविधान संशोधन नगरी चुनावमा जाने एमालेकै अडान थियो । सरकारद्वारा विभिन्न मधेसी घटक दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टीलाई फकाउन र भारतलाई ‘रिझाउन’ संविधान संशोधन विधेयक प्रस्तुत गरियो, मतदान भयो र पराजित हुनपुग्यो । सरकार बनाउँदा पक्षमा मत दिने कतिपय सांसदले समेत प्रस्तावका पक्षमा मत दिएनन्, झन् कतिपय सांसद त संसद्बाटै गयल रहे । संविधान संशोधन नभई चुनावै हुन दिँदैनौं भनेर अड्को थाप्ने राजपा संशोधन विधेयक पराजित भएपछि अन्तत: तेस्रो चरणको चुनावमा सहभागी भयो । सहभागी त भयो, तर नतिजा उसका लागि उत्साहजनक छैन । मत प्रवृत्ति हेर्दा मध्यपूर्वी तराईको मनोभाव राजपाले भनेजस्तो देखिएन । यसको जनाधार, विभिन्न घटक संयुक्त भएर प्रस्तुत हुँदासमेत केही अपवाद बाहेक, दोस्रो संविधानसभाको चुनावमा भन्दा विस्तार भएको देखिएन । अर्थात् अन्य ६ प्रदेशमा जस्तै त्यहाँको पनि जनादेश प्रमुख दलहरूकै पक्षमा रहेको पाइयो । निश्चय नै संघीय समाजवादी फोरमले भने प्रदेश २ मा अपेक्षाकृत प्रगति गरेको स्वीकार्नैपर्छ । प्रदेश २ का प्रतिनिधि दलहरू पनि मुख्यत: कांग्रेस, एमाले र माओवादी नै हुन् भनेर यहीं प्रकाशित आलेखहरूमा मैले कैयौंपटक लेखेको छु । स्थानीय तह निर्वाचन परिणामको रुझान हेर्दा त्यही भनाइ नै पुष्टि भएको छ ।

अनेक शंका थिए । उपशंका र आशंकाबीच सातै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु आफैंमा सुखद हो । यसबाट मंसिरमा हुन गइरहेका प्रदेशसभा र केन्द्रीय प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वाधार त तयार भएको छ नै, यसले देशको औपचारिक राजनीतिक दिशा पनि तय गरेको छ । निश्चय नै पहिलेका दुई चरणमा एमाले पहिलो स्थानमा थियो, तर भनिँदैचाहिँ के थियो भने प्रदेश २ मा उसको लज्जाजनक हार अर्थात् दुर्गति नै हुनेछ । जबकि चुनाव परिणामको रुझान हेर्दा प्रदेश २ मा पनि उसको सम्मानजनक उपस्थिति रहने देखिन्छ । यहाँ तात्पर्य के भने मधेस र पहाडबीच जुन स्तरको कटुता छ भनेर प्रचार गरिएको थियो, त्यो वास्तवमा मिथ्या थियो र त्यही मिथ्याका कारण कथित मधेस केन्द्रित दलहरूले मधेसी मनोभावको प्रतिनिधित्व गर्छन् भनिएको रहेछ भन्ने यथार्थ वर्तमान रुझानले राम्ररी दर्शाएको छ । हुन त कांग्रेस र एमालेलाई पहाडका मात्रै दलका रूपमा जतिसुकै चर्को स्वरमा प्रचार गरिएको भए पनि मधेसमा यिनको बलियो जनाधार छ भनिरहँदा यिनै दलका नेताले समेत पत्याएका थिएनन् ।

निश्चय नै सुरुको मधेस आन्दोलनमा राज्यद्वारा लामो समयसम्म मधेसी समुदायमाथि भएका भेदभावप्रति तीव्र आक्रोश थियो । त्यो आक्रोश जायज थियो र त्यसैको फलस्वरूप राज्य संरचनाको आमूल स्वरूप संघीयता उन्मुख हुनपुगेको हो । मुलुकमा विद्यमान क्षेत्रीय, भाषिक, जातीय विविधतालाई सहानुभूतिपूर्वक सम्बोधन गर्न नै संघीय मान्यतालाई स्वीकारिएको हो । दुर्भाग्यवश, यसैमाथि विभिन्न विदेशी तत्त्वहरूको खेल प्रारम्भ भयो । राज्यको पुन:संरचनाभित्र ती तत्त्वले आफ्ना एजेन्डा प्रवेश गराए । उनीहरूलाई यसमा आफ्ना एजेन्डा मिसाउन सजिलो भयो, किनभने संघीयतामा जाने निधो गरिए पनि यसको शास्त्रपक्ष र व्यावहारिक प्रयोगबारे, कांग्रेस र एमाले पुरै अनभिज्ञ थिए, अरू पनि बिरलैलाई मात्र ज्ञान थियो । मधेस आन्दोलनको नायक तत्कालीन मधेसी जनअधिकार फोरमसमेत यसमा अपवाद थिएन ।

यदि तत्कालीन फोरमलाई संघीयताको शास्त्रपक्ष र व्यावहारिक प्रयोगबारे साँच्चै ज्ञान हुन्थ्यो भने उसले ‘एक मधेस एक प्रदेश’ भन्ने नै थिएन । किनभने नेपालमा त्यस्तो एकै प्रदेश हुने खालको भौगोलिक मधेस छैन । तराईलाई शिवालिक शृंखलाले दुई ठाउँमा विभाजित गरेर तीन खण्ड बनाएको छ । फेरि स्थानीय संस्कृतिका कोणबाट हेर्दा तराई आफैं अत्यन्त विविधतापूर्ण छ । प्राग्ऐतिहासिक कालदेखि तराईमा बसोबास गरिआएका थारु समुदायको आफ्नै रीतिरिवाज र भाषिक विशेषता छ एकातिर भने अर्कातिर भारतीय गांगेय क्षेत्रका बासिन्दासँग नछुट्टिने रूप, रंग, रिवाज र भाषा भएका समुदायको, विशेष गरेर, मध्यपूर्वी तराईमा सघनता छ । त्यस्तै त्यहीं विभिन्न कालखण्डमा पहाडबाट तराई झरेका पहाडी समुदायको पुस्तौंदेखि बसोबास छ । यही तराईको धरातलीय यथार्थ हो ।

यो धरातलीय यथार्थ स्वीकार नगर्दा नै पछिल्लो समयमा प्रक्रिया तन्किएको र चुनावमा यतिका विलम्ब भएको हो । निश्चय नै यस विलम्बले प्रशस्तै समयको बर्बादी भएको छ । तर हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैं यस बर्बादीले पनि केही सिकाएकै छ । यसबाट तराई सम्बन्धी यथार्थबोधका लागि सहयोग नपुगेको भने छैन । त्यसमा पनि सबैभन्दा ठूलो शिक्षा, यदि लिए भने मधेसभित्रकै विविधता नदेखेर यसलाई पृथक पहिचानका रूपमा चित्रित गर्ने अतिवादी सोचाइ राख्ने राजपाका कतिपय नेतालाई राम्ररी प्राप्त भएको छ । प्रस्टै छ, प्रदेश २ मा सम्पन्न स्थानीय निर्वाचन नतिजाको रुझान राष्ट्रिय मूलधारभन्दा पृथक छैन र यही जनमत नै आगामी प्रदेशसभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचनमा प्रतिविम्बित हुने अनुमान गर्न सकिन्छ । निश्चय नै अन्तिम नतिजा नआउँदासम्म ठ्याक्कै निष्कर्षमा पुगिहाल्नु उचित हुँदैन, तथापि स्थानीयको नतिजा हेर्दा प्रदेश २ को प्रदेशसभामा कांग्रेसको स्थिति बलियो हुनजाने देखिन्छ ।

चुनाव हुनु र यसका माध्यमबाट दलहरूले शासनमा जाने अनुमति प्राप्त गर्नु लोकतन्त्रको औपचारिक अर्थात् अनिवार्य प्रक्रियागत पक्ष हो । दुई चरणका निर्वाचनमा, ६ वटा प्रदेशमा एमाले समग्रमा पहिलो थियो, प्रदेश २ मा पछि पर्दै छ । यो अस्वाभाविक होइन, बरु यसमा उसले खुसी हुनुपर्छ । किनभने माथि भनिएझैं, मध्यपूर्वी मधेसमा एमालेको पत्तासाफ हुन्छ भनिँदै थियो, तर त्यस कथनविपरीत उसले त्यहाँ तुलनात्मक रूपमा सम्मानजनक स्थान प्राप्त गरेको छ । जबकि कांग्रेस प्रदेश ४ मा अग्रस्थानमा पुगेको तर ५ वटा प्रदेशमा अग्रस्थान गुमाएर प्रदेश २ मा अग्रता प्राप्त गर्दै छ । यहाँ ख्याल राख्नुपर्ने के छ भने कांग्रेस प्रदेश ४ र २ मा मात्र बलियो भएर यसले राष्ट्रिय राजनीति हाँक्न सक्दैन । त्यसैले को कति शक्तिशाली भन्ने वास्तविक पहिचान प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा हुनेछ । तर यहाँ चुनावको समीक्षा गरिरहँदा के बिर्सनु हुँदैन भने लोकतन्त्र चुन्न, चुनिन मात्र होइन, वास्तवमा यसका निर्माता अर्थात् जनतामा राज्य पुर्‍याउनु हो । राज्य र जनता बीचको दूरी मेटाउनु हो । विगतमा त्यो दूरी मेटिएन, त्यसैले संघीयताको मान्यता अन्तर्गत रही राज्यको पुन:संरचना गर्नुपरेको हो । यसले राज्यलाई जनताको पहुँचमा पुर्‍याउँछ र समाजको पहिलोदेखि अन्तिम पंक्तिमा रहेका व्यक्ति, समूह र समुदायसम्म र तीमाथि न्यायोचित ध्यान पुग्न सक्छ भनेर राज्यलाई तह–तहमा विभाजित गर्नुपरेको हो ।

केन्द्र, प्रदेश र स्थानीय एउटै राज्यका तीन तह भएका कारण यो व्यवस्था जस्तो कि एउटा संगठन सञ्चालनको नियम हुन्छ, त्यस्तै नियम अनुसार चल्नुपर्ने हुन्छ । हरेक तहका प्रतिनिधि र पदाधिकारी जिम्मेवार र जनताप्रति उत्तरदायी हुनुपर्छ । तीनवटै तह गठन भइसकेपछि यदि त्यस्तो हुनसकेन र संसदीय शासनकाल र २०६२/६३ पछिका जनप्रतिनिधि र सरकारजस्तै गैरजिम्मेवार तथा जनताप्रति अनुत्तरदायी रहने प्रवृत्ति यथावत् रहेमा भ्रष्टाचारको चौतर्फी विस्तार र विगतमा भन्दा व्यापक अन्योल उपस्थित हुन जानेछ । फलस्वरूप निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिताको अवमूल्यन र अब केही होला भन्ने आकांक्षामाथि आघात पर्न जानेछ ।

धेरै देशको र स्वयं नेपालकै राजनीतिक विकासक्रम हेर्दा के थाहा हुन्छ भने लोकतान्त्रिक शासन पनि आफैं सच्चिने होइन । यसलाई सच्याउन नागरिक स्तरबाट सक्रियता र मिडियाबाट खबरदारी भइरहनुपर्छ । पद्धति परिष्कार गर्दै लान प्राज्ञिक कर्म पनि सशक्त रूपमा भइरहनुपर्छ । आफ्ना प्रतिनिधि शासनमा पठाउने अनि सुत्ने समाजमा चुनिएकै प्रतिनिधिले राजस्वमाथि लुट मच्चाएका दृष्टान्त हेर्न अब अन्य देश चहार्नै पर्दैन । पूर्व विशिष्टहरूलाई सुविधाले सज्जित गर्ने कानुन नेपालकै जनप्रतिनिधिले समेत बनाएका छन् । संसद्को कार्यकाल सकिनै लाग्दा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १० अर्बभन्दा बढी रकम निकासा गर्न जनप्रतिनिधिहरूले नै हालसालै मन्त्रिपरिषदबाट सिफारिस गराएका हुन् । यही रोग यदि प्रदेश र स्थानीय तहमा सल्कियो भने वरदान मानिएको राज्य पुन:संरचना अभिशाप बन्न जाने डर पनि त्यत्तिकै छ ।

विविधा

विद्यार्थी रूवाएर सांसद हाँसेको दिन

- मकर श्रेष्ठ

सभामुख ओन्सरी घर्ती मगरले संसद्मा शिक्षा ऐन संशोधनको पक्ष–विपक्षको मतदान गराइरहँदा सांसद प्रेम सुवालले गणपुरक संख्यामा प्रश्न उठाए । सभामुखले संसद् सचिवालयका कर्मचारीलाई तीन मिनेटको समय दिएर सांसदको संख्या यकिन गर्न समय दिइन् । बैठकको कोरम पुग्न १ सय ४८ आवश्यक पर्नेमा १ सय ५५ भएको भन्दै संशोधनको पक्ष र विपक्षमा मतदान गराए । ५ सय ९१ सांसदमध्ये उपस्थित १ सय ५५ अर्थात् २६.२२ प्रतिशत सांसदले शिक्षा ऐन संशोधन गराए । अनशन बसेर मुलुकको कानुन परिवर्तन गर्छु भन्ने अस्थायी शिक्षक र कार्यकर्ताको जागिर बचाउनिम्ति ५७ लाखभन्दा बढी विद्यार्थी र तिनका अभिभावकमाथि अन्याय भएको छ । त्यस्तै सार्वजिनक शिक्षा सुधार गर्न संशोधन हाल्ने गगनकुमार थापाजस्ता सांसदमाथि पनि संसद्ले अन्याय गरेको छ । थापाले आफ्नै पार्टीको शिक्षामन्त्रीले पेस गरेको विधेयकको विरोधमा संशोधन दर्ता गराए । सिंगो कांग्रेस एकढिक्का हुँदा उनी सामुदायिक विद्यालय सुधारको पक्षमा उभिए । उनको पक्षमा राधेश्याम अधिकारी र जनकराज जोशी बाहेक कोही थिएनन् । यदि सार्वजनिक शिक्षा सुधार गर्ने हो भने अहिले कार्यरत २५ प्रतिशत अस्थायीलाई मात्रै स्थायी गर्नुपर्ने र ७५ प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्नुपर्ने अडानमा थापा थिए । उनले सार्वजनिक विद्यालयमा अध्ययन गर्ने ८२ प्रतिशत बालबालिकाको पक्षमा आवाज उठाए ।

उक्त छलफलमा संशोधन हाल्नेमध्ये १९ जनालाई सभामुखले बोल्ने समय दिएका थिए । तीमध्ये विकास लम्साल, प्रेम सुवाल र गगन थापामात्रै उपस्थित थिए । ८५ प्रतिशत संशोधनकर्ता नै बैठकमा उपस्थित थिएनन् । जसले बोले आफ्नो संशोधनको पक्षमा बोलेका थिए । उनीहरूले संशोधन फिर्ता नलिने र संसदीय समितिमार्फत छलफल गराएर मात्रै पास गर्नुपर्ने कुरा राखे । यो विधेयक यसरी पास गरियो कि कुन सांसदले के संशोधन हालेको छ ? भन्ने बैठकमा उपस्थित सांसदहरूलाई समेत थाहा थिएन । शिक्षा ऐन आठांै संशोधनले २०६१ देखि ०७२ असोज २ सम्मको दरबन्दीमध्ये ४९ प्रतिशतमात्रै अस्थायी शिक्षकलाई प्रतिस्पर्धा गराउने व्यवस्था गरेको थियो । ५१ प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने थियो । यो व्यवस्था कार्यान्वयन गरेको भए यो अवधिमा ७ हजार योग्य शिक्षक प्रतिस्पर्धाबाट छनोट भइसक्थे । तर नवौं संशोधनले खुला प्रतिस्पर्धीको २६ प्रतिशत दरबन्दी खोसेको छ ।

यो संशोधनले अस्थायी शिक्षकलाई सुविधा दिने नाममा अध्यापन लाइसेन्स लिएर बसेका ७ लाखलाई अन्याय गरेको छ । आठांै संशोधनमा ५१ प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने व्यवस्थालाई नवांै संशोधनले २५ प्रतिशतमा झारेको छ । यसले योग्य व्यक्ति शिक्षक हुने ढोका संसद्ले नै बन्द गरेको छ । सांसदहरू जुनसुकै कार्यक्रममा जाँदा पनि शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने भन्दै भाषण गर्छन् । तर सुधार गर्ने कानुन बनाउनुको सट्टा अधोगतिमा लैजाने कानुन पो बनाए । ८२ प्रतिशत बालबालिका सामुदायिक विद्यालयमा अध्ययनरत छन् । यी विद्यालयको भविष्यभन्दा पनि सांसदहरू आफ्ना कार्यकर्ताको संरक्षणमा लागे । यसको असर कम्तीमा २० वर्षसम्म देखिनेछ । अहिले कार्यरत शिक्षक सरदर ४० वर्षका छन् भने अझै २० वर्ष जागिर खान्छन् । जो प्रतिस्पर्धाबाट उच्च अंक ल्याउन सक्छ, उसलाई विद्यालयको कक्षाकोठा पठाउने हो भने अहिले जुन गुणस्तर छ, त्यो सुधार हुनसक्थ्यो । अब जम्मा ४० अंक ल्याएका शिक्षक सामुदायिक विद्यालयका शिक्षक भएर जाँदैछन् । गगन थापाले संशोधन प्रस्तावमाथि बोल्दै भने, ‘मैले राखेको संशोधनमा हुन्छ भन्नुभयो भने जनताका छोराछोरीले ९० अंक ल्याउने शिक्षकबाट पढ्न पाउँछन्, हुन्न भन्नुभयो भने बञ्चित हुनेछन् ।’ उनको संशोधनले तीन मत मात्रै पायो । सबै सांसद ४० अंक ल्याउने शिक्षकबाट पढाए पनि हुने पक्षमा उभिए । शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्दा सत्तोसराप गर्न नथाक्ने एमाले र माओवादी पनि पछिल्लो समय आफ्नो स्वार्थ पूरा गरेर ऐन संशोधनकै पक्षमा उभिए । एमाले त शिक्षा ऐन पारित गर्न एक महिनाअघि महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन पेस गरेमा शिक्षा ऐन पारित गर्न सहयोग गर्नेसम्मको सर्त राख्न पछि परेन । यसले एमालेको स्वार्थ के थियो भन्ने प्रस्ट पार्‍यो ।

अस्थायी शिक्षक अयोग्य भन्न खोजिएको होइन । यदि अस्थायी शिक्षक व्यवस्थापन गर्ने हो भने अनेक विकल्प खुल्ला थियो । २६ हजार अस्थायी शिक्षकलाई ऐनमा तोकिएको सुविधा दिएर बिदाइ गर्ने बाटो उत्तम थियो । ऐनमा तोकिएभन्दा बढी सुविधा दिएर एकैपटक बिदाइ गर्न पनि सकिन्थ्यो । अस्थायीलाई विदाइ गरेपछि उक्त दरबन्दीमा खुला प्रतिस्पर्धाबाट योग्य शिक्षक छनोट गर्दा विद्यार्थीलाई न्याय हुन्थ्यो । अहिले त विद्यार्थीको भविष्य होइन, अस्थायी शिक्षकको भविष्य हेरियो । विद्यार्थीको पढाइभन्दा पनि कार्यकर्ता शिक्षकको जागिरलाई प्रधानता दिने कानुन पारित भयो । जनताले पुस्तौंसम्म असर गर्नेगरी कानुन बनाउन कांग्रेस, एमाले र माओवादीका नेतालाई जिताएको पक्कै होइन । बालबालिकाको भविष्यमाथि खेलवाड गरेर सांसदहरूले नीतिगत भ्रष्टाचार गरेका छन् । यसको असर वर्षौंसम्म रहिरहनेछ । २०४८ मा कृष्णप्रसाद भट्टराईले कम्तीमा एक वर्ष अस्थायी भएका २० हजार शिक्षकलाई स्थायी गरेको असर अझै सकिएको छैन भने अहिलेको असर कहिलेसम्म पुग्ला ?

परीक्षामा फेल भएका शिक्षकलाई सुविधा दिएर घर पठाउँदा पनि विद्यालयमा केही असर पर्दैनथ्यो । तर ४० नम्बर ल्याएर स्थायी भएकालाई कक्षामा पठाउने सहमति गर्नु नै मुलुकको शिक्षाको कालो दिन सुरु हुनु हो । त्यसैले असोज ३ लाई शिक्षा क्षेत्रमा कालो दिनको रूपमा बुझ्दा फरक पर्दैन । अब सामुदायिक विद्यालयमा भवन बनाउँदैमा, प्रविधिको विकास गर्दैमा सुधार हुँदैन । विद्यालयमा प्रविधि र भवनभन्दा पनि योग्य र लगनशील शिक्षकको खाँचो छ । अस्थायी शिक्षकलाई स्थायी गर्ने अघिल्लो ऐन नै कार्यान्वयन नगरी नवौं संशोधन गरेको हो । फेरि ३८ हजार राहत शिक्षकले यसरी नै स्थायीको माग राखेर अनशन बस्यो भने ऐन संशोधन गरेर स्थायी गर्ने ? त्यस्तै सामुदायिक विद्यालयकै ११ र १२ को १३ हजार शिक्षकलाई पनि यसरी नै विना प्रतिस्पर्धा स्थायी गराउने ? यसरी नै विरोध गर्ने सबैलाई स्थायी गराउँदै जाने हो भने सामुदायिक विद्यालय कहिल्यै सुधार हुन सक्दैन । ७५ प्रतिशतबाट छानिने अस्थायी शिक्षकसँंग शिक्षामन्त्री गोपालमान श्रेष्ठले परीक्षा सहज बनाइदिने असार ९ मै सम्झौता गरिसकेका छन् । त्यसैले अबको २० वर्षभन्दा बढी समयसम्म सामुदायिक विद्यालय कमजोर बनाउने मुख्य दोषी शिक्षामन्त्री नै हुन् ।
[email protected] 

विविधा

कमजोरी चिकित्सकको मात्रै ?

- डा. सुजितकुमार झा

डा. सुजितकुमार झा

‘राज्य कमजोर छ, मेडिकल माफियाको विगविगी छ, प्राविधिक पक्ष डाक्टरतर्फ लाग्छ । मान्छे मरेपछि ५/७ लाखको औषधी मगाउँछ, बिरामी रिफर गर्न मान्दैन, पैसा नपाई लास उठाउन पनि दिँदैन । शक्ति यिनकै हातमा छ । अनि हुलहुज्जत विना केही हुँदैन । के गर्ने तिमी पनि डाक्टर, म पनि डाक्टरकै लापरबाहीले हात गुमाउन पुगेंँ । हामीले हुलहुज्जत गरेनौं, पैसा पनि लिएनौं, तर छानबिन पनि भएन, म जीवनभर अपांग भएँ, डाक्टरको कारणले । आजसम्म यो ५० वर्षमा कुनै एक चिकित्सकको लाइसेन्स खारेज भएको थाहा छैन ।’

यी हरफ एक पढेलेखेका व्यक्तिले मेरो फेसबुकमा लेख्नुभएको थियो । गुम्सिएको पीडा पोखिएका छन्, यी हरफमा । सधैं जस्तो सञ्चार माध्यममा आउने चिकित्सकीय लापरबाहीका घटनाले सायद धेरै नेपाली आजित छन् । धेरैजना नेपालको स्वास्थ्यसेवा प्रवाहको व्यवस्थामाथि नै सशंकित छन् । हामी सबैले खोजेको र बस्ने देश नेपाल नै हो भने हामी सबै मिलेर यसको समाधान खोज्न अग्रसर हुनुपर्छ । मानिस बिरामी हुनु, जन्म र मृत्यु समान शाश्वत सत्य हुन् । ढिलो–चाँडो अस्पताल जोकोही पुग्नुपर्छ । त्यसैले समाचारमा रमाउनेभन्दा पनि व्यवस्थालाई नियालेर गर्नसक्ने सकारात्मक काम गरौं ।

बिरामीको उपचार : सामूहिक प्रयास
आफ्नो लक्षण पहिचान गरेर स्वास्थ्योपचारको आवश्यकता महसुस गर्नसक्ने बिरामी, बिरामीको अवस्था अनुसार स्वास्थ्योपचारको चाँजोपाँजो मिलाउन सक्ने आफन्त, बिरामीलाई सही समयमा अस्पताल पुर्‍याउन सक्ने एम्बुलेन्स, बिरामीको रोग पत्ता लगाएर सही सल्लाह दिने चिकित्सक, विभिन्न स्याहार गर्ने परिचारिका, उपचारका लागि आवश्यक उपकरण र औषधी मिलाउन सक्ने प्रशासन संयन्त्र लगायत धेरै निकाय बिरामीको प्रत्यक्ष उपचारमा संलग्न व्यक्तिहरू हुन् । यिनीहरू मध्ये कोही एक पक्षमात्र पनि गैरजिम्मेवार भए उपचारमा बाधा पर्छ । बिरामीको उपचारमा सोझो भूमिका राख्ने चिकित्सकको जिम्मेवारी अरूभन्दा अवश्य पनि बढी हुन्छ । छाती दुख्न थाल्दा हर्ट एट्याक हो कि भनेर अस्पताल समयमा पुग्नसके धेरै जोखिम न्युनीकरण गर्न सकिन्छ । तर ढिलो पुगे चिकित्सकले गर्नसक्ने उपचार धेरै सीमितमात्र बाँकी रहन्छ ।




लापरबाही


भन्नेलाई भन्न धेरै गाह्रो नलागे पनि लापरबाही शब्द वास्तवमै गहन छ । चिकित्सकले उपचारमा संलग्न भई उपचार कार्यबाट विमुख भएर बिरामीको स्वास्थ्यमा क्षति भए लापरबाही भएको मान्नुपर्छ । हेर्दा सजिलै देखिने बिरामी, हिँडेर अस्पताल पुगेका पनि चिकित्सकले नचाहँदा पनि उपचारको पृथक तर अवश्यम्भावी पाटोका कारण मृत्युवरण गर्न पुग्छन् । हरेक औषधी र शल्यक्रियाको आफ्नै साइड इफेक्ट र नोक्सान हुन्छ । परिस्थिति अनुसार स्वास्थ्योपचारमा फाइदा बढी देखिए जोखिम उठाएर त्यस्ता शल्यक्रिया गर्ने र औषधी चलाउने चलन चिकित्सा विज्ञानमा छ । त्यही बमोजिम सुसूचित मञ्जुरिनामा दिने गरिन्छ र जोखिम बोकेर उपचार गर्ने निर्णयमा चिकित्सक र बिरामी पुग्छन् । सामान्य वा जटिल, प्राकृतिक वा लापरबाहीपूर्ण एवं मृत्युको कारण वैज्ञानिक तरिकाले छानबिन हुनुपर्छ ।




चिकित्सकीय लापरबाही हुन्न ?


हरेक विधामा हुने विकृत कार्यजस्तै चिकित्सा विधा पनि यस्ता आपराधिक तत्त्वबाट अछुतो छैन । विभिन्न प्रलोभन र दबाबमा गलत अभ्यास गर्ने स्वास्थ्यकर्मी र चिकित्सक छन् । तर अनुमान र आफूले चाहे बमोजिमको उपचार प्रतिफल नआउँदैमा लापरबाही भएको ठहर गर्नु अत्यन्त गलत हुन्छ । विचारणीय कुरा छ, चिकित्सकको लापरबाहीमा आफन्त ज्यान गुमाएको महसुस गर्नेले पक्कै पनि त्यस्तो चिकित्सकलाई आवश्यक कारबाही गराएर आफूजस्तै अरूलाई पनि कमसल चिकित्सकको सिकार हुनबाट जोगाउनुपर्ने हो । अप्रिय घटना घटे हुल जम्मा गर्ने, चिकित्सकको हुलहुज्जत गर्ने, अस्पताल तोडफोड गर्ने क्रियाकलाप हुन्छन् । छानबिनका लागि उजुरी गर्ने कता, न्याय पाउने कहिले र प्राविधिक रूपमा र पहुँचमा सबल अस्पताल र चिकित्सकसँग जित्न सकिने वा नसकिने अन्योलताको अवस्था छ । त्यसैले हुलदङ्गा नै धेरैले रोज्ने गरेको देखिन्छ । तर कहिलेसम्म ? सम्मुन्नत समाजको परिकल्पना गर्ने हो भने न्याय व्यवस्थाबाट टाढा बसेर हुँदैन । 



उपचारका क्रममा हुने लापरबाही देखिने घटनाको व्यावहारिक, वैज्ञानिक र छरितो न्यायिक छानबिन गर्न उच्चस्तरीय आयोग व्यवस्था गर्न जरुरी छ । रोगको उपचारका क्रममा हुने मानवीय क्षतिका विभिन्न कारण हुन्छन् । रोग निदान गर्ने क्रममा हुनसक्ने जोखिमप्रति हरेकपटक चिकित्सकलाई कारण मानेर सामाजिक, मानसिक र आर्थिक दबाब दिइरहे उच्च जोखिममा रहेका बिरामीलाई जोखिम मोलेर उपचार गर्ने चिकित्सकको आँट निरुत्साहित हुन्छ र यसको प्रत्यक्ष असर जनतामा पर्छ । चिकित्सकीय लापरबाहीबाट हुने मानवीय क्षतिको जिम्मेवारी पक्कै पनि चिकित्सक स्वयं हुने र त्यसको सजाय पनि चिकित्सकले भोग्नुपर्ने हुन्छ । तर भिडले तय गरेको आरोपका आधारमा हरेक मानवीय क्षतिलाई चिकित्सकको लापरबाहीको संज्ञा दिएर भिडतन्त्रलाई प्रोत्साहित गर्नेगरी चिकित्सकसँग आर्थिक असुली गर्ने मन्त्रिपरिषदको निर्णय अत्यन्त अवैज्ञानिक र अदूरदर्शी छ ।
चिकित्सकको लापरबाही नहुने होइन, तर सबै घटना लापरबाहीले हुने हैन । र लापरबाही भएको हो वा होइन, यसको फैसला छानबिनबाट हुनुपर्छ, भिडबाट होइन । जिम्मेवार र नियमनकारी निकायले छानबिन आयोगको परिकल्पना गरिहाल्ने समय आएको छ ।
डा. झा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा कार्यरत छन् ।

विविधा

हेरेर सिक्ने विद्यार्थीलाई सुनेर सिकाउने शिक्षक

डा. लक्ष्मणप्रसाद ज्ञवाली

कम्प्युटर शिक्षण आफैमा रमाइलो र अप्ठ्यारो विषय हो । प्राविधिक विषय हुनाले यसको अध्ययन र अध्यापनमा निरसपन हुँदैन । अंग्रेजी वा गणितजस्तो विद्यार्थीले सम्झन अल्छी मान्ने खालको विषय पनि होइन यो । एउटा शिक्षकले जसरी विद्यार्थीलाई गणित पढाउँदा दिक्कलाग्दो हुन्छ, त्यस विपरीत कम्प्युटर पढाउँदा विद्यार्थीहरू बढी रमाउँछन् । किनकि यो विषय सैद्धान्तिक ५० प्रतिशत र प्रयोगात्मक ५० प्रतिशत आफैले तत्काल परिणाम निकाल्न सक्छन् । म एक दृष्टिविहीन शिक्षक । एउटा ‘माउस प्वाइन्टर’को सहायताले गर्नुपर्ने सबै काम कि बोर्डको सहायताबाट मात्र गर्नुपर्दा ग्राफिक्स कार्य स्वाभावैले कठिन हुन्छन् । तर ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै यो पनि असम्भव भने छैन । म आफैले कम्प्युटरमा विभिन्न चित्र बनाउन त सक्दिन, तर मैले गरेको निर्देशनको पालनाबाट मेरा विद्यार्थी भने यो कार्य सहजै गर्न सक्छन्, गरिरहेकै छन् । मैले मेरो ल्यापटपमा रहेको ‘स्क्रिन रिडर सफ्टवेयर, जेएडब्लुएस, एनभीडीए’को माध्यमबाट कम्प्युटरका निर्देशन र कमाण्ड सुन्छु र विद्यार्थीलाई सोही बमोजिम गर्न लगाउँछु । यसरी विद्यार्थीले सहजै रूपमा सिक्नसकेका छन् । सानो कक्षादेखि सुरु गरिएको कम्प्युटर शिक्षा तल्ला कक्षाहरूमा प्रयोगात्मक कार्यभन्दा बढी जानकारीमूलक छ । सानो कक्षामा अध्ययनरत विद्यार्थी उमेरका हिसाबले पनि माथिल्ला कक्षाका भन्दा भिन्न र चञ्चले स्वभावका हुन्छन् । उनीहरूको जिज्ञासु तर अति नै चञ्चल स्वभावको सन्तुलन मिलाएर उनीहरूलाई प्राविधिक ज्ञान हासिल गराउनु त्यति सजिलो भने हुँदैन । त्यतिमात्र होइन, बेलाबेला देखिने हार्डवेयर मर्मतको पक्ष अझै ठूलो समस्याका रूपमा देखापर्छ । यसले गर्दा धेरै कम्प्युटर सानो हार्डवेयर समस्याका कारण नचल्ने समस्या भोग्नुपरेको छ ।

अर्काको देखासिकी गरी सिक्ने विषयलाई निर्देशनकै भरमा सिकाउनु आफैमा बढी मिहिनेत गर्नुपर्ने कुरालाई अन्यथा मान्नु भएन । हाम्रा सरकारी विद्यालयका विद्यार्थी संख्या र राज्यको लगानीको सन्तुलन त मिलेको छैन नै, यसमा पनि सहरिया र गाउँले परिवेश धेरै भिन्न छ । स्रोत–साधनमा व्यक्तिका पहुँचका हिसाबले पनि गाउँ र सहर २०:८० को अनुपातमा छ । सोही पाठ्यक्रममा निर्धारित पाठ्यपुस्तकलाई शैक्षिक सामग्री सम्पन्नतामा अध्यापन गराउनु र पुस्तक हेरेर मात्र अध्यापन गर्नु धेरै अन्तर हुन्छ । कोरा सैद्धान्तिक विषय पढाउनुभन्दा प्रयोगात्मक सहितको प्राविधिक विषय पढाउनु फरक र दु:ख छ । किनकि सैद्धान्तिक विषयमा विद्यार्थीले ज्ञान हासिल गरे/नगरेको मापक केवल परीक्षाको मार्कसिट हो, तर प्रयोगात्मक विषयको मापक त तत्काल उसलाई प्रयोगशालामा परीक्षण गरी हेर्न सक्छ । मैले अनुभव गरेको अर्को कठिनाइको पक्ष हो, विद्यार्थीले तयार गरेको गृहकार्य वा उनीहरूले कम्प्युटर ल्याबमा तयार गरेका ग्राफिक्स परिणामको उचित मूल्याङ्कन गरी तत्काल सुझाव दिन पनि गाह्रो पर्छ ।

कम्प्युटर एउटा विद्युतीय मेसिन हो । यसलाई प्रयोग गर्न विद्युतीय शक्ति आवश्यक पर्छ । करेन्टकै आधारमा मात्र चलाउन सकिने यस्ता मेसिन दृष्टिविहीन शिक्षकद्वारा चलाउनु आफैमा जोखिम पनि हुन्छ । त्यसै त साना विद्यार्थीलाई यसको खतराबाट टाढा राख्नुपर्नेमा उनीहरूकै सहायताबाट विद्युतीय कार्य गर्नु अति नै संवेदनशील काम हो । हेरेर सिक्ने र भनेर सिकाउने बीचको कठिनाइ सहज रूपमा महसुस गर्न सुनेर वा पढेर होइन, सम्बन्धित ठाउँमा उपस्थित भएर मात्र गर्न सकिन्छ । पहुँचयुक्तताका हिसाबमा सामान्य स्क्रिन रिडर बाहेक कुनै साधानस्रोत नभएको अवस्थामा आफ्नो निजी ल्यापटपको स्क्रिन रिडरको सहायताले कक्षा २ देखि ८ सम्मका विविधतायुक्त विद्यार्थीको आवश्यकता पूरा गर्नु त्यति सजिलो छैन । ससाना विद्यार्थीले जथाभावी प्रयोग गरेर ल्याउने समस्या त्यसको नियमित मर्मत–सम्भारको अभाव दैनिक भोगिएका यथार्थ नै हुन् । राज्यले अन्य विद्यालयसरह दिने सुविधा बाहेक केही दिनुपर्छ भन्नेसम्मको चेतनासमेत सम्बन्धित निकायमा नरहेको देखिन्छ । दृष्टिविहीन शिक्षक र देख्ने विद्यार्थी बीचको तालमेल अनि विद्यार्थीले स्वाभाविक रूपमा गर्ने बदमासी सामान्य र यथार्थ नै हुन् ।

निर्धारित पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तथा निर्देशिकाहरू पनि दृष्टिविहीन मैत्री छैनन् । आम शिक्षकलाई मध्यनजर गरी निर्धारण भएका पाठ्य र प्रयोग सामग्रीको प्रयोग गरी आधारभूत तहको शिक्षा प्रदान गर्नु एक दृष्टिविहीन शिक्षकलाई ठूलै चुनौती र अवसर हो । पाठ्यक्रम विकास केन्द्रले सरकारको पाठ्यक्रमलाई एमपी ३ फम्र्याटमा उत्पादन गरी दृष्टिविहीन शिक्षकहरूलाई वितरण नगरिएको त होइन । तर यो अति सीमित छ । केही संघ, गैरसरकारी संस्थाहरूले सीमित रूपमा तयार गरेका अडियो एमपी ३ र डेजी भर्सनका पाठ्य पुस्तकहरूमा बाहेक सरकारले कुनै चासो राखेको छैन ।संविधानले आधारभूत तहको शिक्षा सबैका लागि निशु:ल्क र अनिवार्य गरेको भए पनि पाठ्यक्रमले यसलाई सर्वसुलभ गराउनसकेको छैन । हुन त नीति निर्माण तहमा जबसम्म दृष्टिविहीनको उपस्थिति र हस्तक्षेपकारी पहुँच पुग्दैन, त्यतिबेलासम्म अपाङ्गतामैत्री परिवेशको परिकल्पनासम्म पनि गर्न सकिन्न । यसका लागि सम्बन्धित वर्गका संघ/संस्थाको समयोचित ‘एडभोकेसी’ जरुरी पर्छ ।
हुन त दृष्टिविहीन शिक्षकले देख्ने विद्यार्थीलाई प्राविधिक विषय अध्यापन गराउनेको संख्या थोरै होला । यसो भनेर राज्यले आफ्नो लाचारीपन ढाकछोप गर्न मिल्दैन । प्राविधिक विषयको शिक्षण गर्ने दृष्टिविहीन शिक्षक कम भए पनि गैरदृष्टिविहीन विद्यार्थीलाई विभिन्न विषय अध्यापन गराउने दृष्टिविहीन शिक्षकको संख्या भने आधा हजारजति छ । चाहे सामाजिक, नेपाली, गणित, नैतिक वा अंग्रेजी अध्यापन गर्ने शिक्षक जोकोही किन नहोउन्, उनले दृष्टिविहीन मैत्री शैक्षिक सामग्री प्राप्त गर्नसकेको छैन ।

आदिम कालतिरका अपाङ्गता भएकाहरू जसरी समाजमा घृणित व्यवहार सहन बाध्य थिए, त्यो व्यवहार आजको एक्काइसौं शताब्दीमा पनि महसुस गर्न विवश हुनुहुँदैन । आजको युग सबै नागरिक उत्पादनमूलक हुनुपर्ने युग हो । राज्यले भत्ता ख्वाएर पाल्नुपर्ने दृष्टिविहीनको ठूलो हिस्सा आम नागरिकसरह देश निर्माणमा सरिक छन् । थोरै अनुकूलताको व्यवस्था राज्यले मिलाउने चेष्टामात्र गरिदिने हो भने पनि देशभरका सबै उच्चशिक्षा हासिल गरेका दृष्टिविहीन मुलुक निर्माणमा अन्य आम नागरिकसरह योगदान गर्न तयार छन् । यसका लागि राज्यले नीति निर्माण र कार्यान्वयन तहमा सबैको पहुँचको उचित प्रबन्ध मिलाई हरेक संयन्त्र संविधानको मर्मअनुरूप समावेशी बनाउनुपर्छ । प्राविधिक शिक्षणलाई पहुँचयुक्त बनाउनुपर्छ ।

राज्यका हरेक सूचना दृष्टिविहीनले थाहा पाउन वा पढ्न सक्ने फम्र्याटमा उपलब्ध हुनुपर्छ । सबै सरकारी कागजातका इ–कपी कम्तीमा युनिकोडमा राखिनुपर्छ । पाठ्यक्रम विकास केन्द्रले जारी गरेका सबै पाठ्यक्रम युनिकोडमा राखिदिँदा के आपत्ति छ ? युनिकोडमा राखिएका सबै दस्तावेज दृष्टिविहीन बाहेक अन्य नागरिकले पढ्न त कुनै बाधा पर्दैन नि ।राज्यले दृष्टिविहीन मैत्री र पहुँचयोग्य वातावरण सिर्जना गरी सबै नागरिकलाई वास्तविक समानताको व्यवहार गर्ने मनसाय राखोस् । हामी जस्ता दृष्टिविहीन शिक्षकले पनि अपनत्वका साथ मुलुकका सबै सूचना ग्रहण गर्न सकौं र मुलुकलाई केही न केही योगदान गर्नसक्ने वातावरण बनोस् । सबै प्राविधिक शिक्षा/शिक्षण सर्वसुलभ र दृष्टिविहीनमैत्री बनाइयोस् ।

Page 10
समाचार

मतपत्रको डिजाइन अन्तिम चरणमा

प्रदेश र प्रतिनिधिसभा निर्वाचन
- राजेश मिश्र

काठमाडौं– निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्रको डिजाइन अन्तिम चरणमा पुर्‍याएको छ । समयको चाप रहेकाले आयोग समानुपातिक प्रणालीतर्फको मतपत्र तत्कालै छाप्ने तयारीमा छ ।
कस्तो मतपत्र बनाउने भन्ने विषयमा चरणबद्ध छलफल गरेपछि दुइटा मतपत्रमार्फत दुवै निर्वाचन गराउने निष्कर्षमा आयोग पुगेको हो । दुवै निर्वाचन एकै दिन सँगै गर्ने घोषणा भई चुनावी कार्यतालिका आइसकेको छ । संविधानअनुसार दुवै सभामा समानुपातिक र प्रत्यक्षबाट सदस्य चुनिने मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ ।आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतपत्रको डिजाइनलाई अन्तिम रूप दिन लागेको छ । तर, पहिलो प्राथमिकतामा भने समानुपातिक प्रणालीतर्फको मतपत्र छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दलको टुंगो लागिसकेकाले त्यसको मतपत्र डिजाइनमा समस्या नरहेको बताए । ‘२/३ दिनभित्र मतपत्र कस्तो हुनेबारे टुंगो लागिसक्छ, छलफलको अन्तिम चरणमा छौं,’ उनले भने, ‘आयोगले निर्णय गरेपछि दसैंभित्रै मतपत्र छाप्न पठाइसकिनेछ ।’ मतपत्र भने सरकार मातहतको जनक शिक्षा सामग्री केन्द्रमा छापिनेछ । प्रत्यक्षतर्फ भने उम्मेदवारी दर्तापछि मात्रै मतपत्र छापिनेछ । मंसिर १० मा हुने पहिलो चरणका लागि कात्तिक ५ र मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारी दर्ता तोकिएको छ ।

स्रोतका अनुसार समानुपातिकतर्फको मतपत्र हल्का रातो बनाउने तथा एउटै मतपत्रभित्र मतपत्र १ प्रतिनिधिसभा र मतपत्र २ प्रदेशसभाका लागि छुट्याउने निष्कर्षमा आयोग पुगेको छ । ‘चरणबद्ध छलफल भएका छन् । विज्ञहरूको राय पनि लिइएको छ,’ स्रोतले भन्यो, ‘विभन्न विकल्पमाथिको छलफलपछि एउटै मतपत्रमा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाका सदस्य चुन्न चिह्न राखिने निष्कर्षमा पुगिएको छ ।’ यसअघि एउटै मतपत्रभित्र मतपत्र १ र २ दायाँ–बायाँ गरी राख्ने वा प्रत्यक्षतर्फ खसेको मतलाई नै राजनीतिक दलले पाएको मत मान्ने वा चार छुट्टाछुट्टै मतपत्र बनाउनेजस्ता विकल्पमा पनि छलफल भएको थियो । तर, चारवटा मतपत्रले समग्र निर्वाचन व्यवस्थापनलाई झन्झटिलो बनाउने भएपछि त्यसमा आयोगभित्र सहमति थिएन । आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले मतदातालाई कसरी सजिलो हुन्छ भन्ने ध्यानमा राखेर आयोग मतपत्रको डिजाइनमा जुटेको बताए । ‘प्राथमिकता नै मतदातामैत्री मतपत्र कसरी बनाउनेमा छ,’ उनले भने, ‘पूर्वआयुक्त, विज्ञ र राजनीतिक दलसँग त्यसबारेको छलफलपछि एउटा निष्कर्षमा पुग्ने तयारी छ ।’

मतपत्रमा संसदभित्र रहेका र अघिल्लो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ बढी मत ल्याएका दलहरूको चिह्न क्रमश: माथि र त्यसपछि निर्वाचनमा भाग लिने उद्देश्यले हालै आयोगमा दर्ता गराएका दलको दर्ता क्रमअनुसारको चिह्न राखिनेछ । प्रत्यक्षतर्फ भने त्यसपछि स्वतन्त्र उम्मेदवारको चिह्न रहने गरी मतपत्रको डिजाइन भएको स्रोतले बतायो । ‘१/२ दिनमा नयाँखालको सोच विकास भएन भने समानुपातिक र प्रत्यक्षतर्फ एउटा/एउटा मतपत्र तथा त्यसैमा तलमाथि प्रतिनिधिसभा र प्रदेशसभाका लागि चिह्न रहने टुंगो लागिसकेको छ,’ स्रोतले भन्यो, ‘समानुपातिकतर्फको हल्का रातो र प्रत्यक्षतर्फको हल्का हरियो रङको मतपत्र हुनेछ ।’ निर्वाचन कानुनले मतपत्र आयोगले तोकेअनुसारको हुने भनेकाले आयोगलाई मतपत्र डिजाइन गर्न थप सहज भएको छ । एक मतदाताले दुइटा मतपत्र हातमा पाउनेछन् जसमा ४ स्थानमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ र दुइटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ । प्रत्यक्ष र समानुपातिकतर्फको गरी ३ करोड ५० लाखजति संख्यामा मतपत्र छपाउने आयोगको तयारी छ । असोज १७ देखि समानुपातिकतर्फको मतपत्र छाप्न सुरु गरी कात्तिक ४ भित्र छपाइसक्ने आयोगको लक्ष्य छ । कात्तिक ५ मा उम्मेदवारी दर्ता भएपछि पहिलो चरणका लागि प्रत्यक्षतर्फको मतपत्र छापिनेछ ।

समाचार

‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु’

प्रदेश २ की पहिलो महिला मेयर भन्छिन्–
- पवन यादव,शिव पुरी

रौतहट– प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो महिला मेयरका रूपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिबद्धता गरेकी छन् । माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वाचित भएकी हुन् ।पार्टीमा ‘कविता’ नामले चिनिने ३३ वर्षीया रीनाले पहिलो चरणमा सडक र ढल सुधारबाट काम थाल्ने बताइन् । ‘मौलापुरलाई स्मार्ट नगरपालिका बनाउँछु,’ उनले भनिन्, ‘यहाँको बिग्रेको सडक, विद्यालय, ढल निर्माणको काम पहिलो चरणमै थालनी गर्छु ।’ दाइजो प्रथाले जकडिएको समाजलाई सही बाटोमा डोर्‍याउने लक्ष्य आफूले लिएको उनले बताइन् । रीना विजयी भएपछि स्थानीय महिला बढी उत्साहित देखिएका छन् । ‘रीनाको जित हामी सबै महिलाको जित हो,’ मौलापुर १ मा महिला सदस्यमा निर्वाचित बबिता पाण्डेले भनिन्, ‘नगरका सबै महिलाले भोट दिएर रीनालाई सघाएका हुन् ।’ अब महिलाको पक्षमा काम गरेर सघाउने जिम्मेवारी उनको काँधमा आएको बबिताले बताइन् । रीनाको जितमा सबैभन्दा बढी नगर क्षेत्रका महिला खुसी छन् । उनी सहरी विकासमन्त्री प्रभु साहकी पत्नी हुन् । भारतको सितामढी जिल्ला बैरगनिया पञ्चायत जमुआघाट गाउँ माइती भएकी रीनाको २० वर्ष अगाडि साहसँग मागी विवाह भएको थियो । ‘घरको कामसँगै नगरको जिम्मेवारी इमानदारीपूर्वक सम्हाल्छु,’ उनले भनिन्, ‘काम गर्न कुनै कसर बाँकी राख्दिनँ ।’ २० वर्ष अगाडि १ लाख रुपैयाँ दाइजो दिएर बुबाआमाले प्रभुसँग मागी विवाह गरिदिएका थिए । दाइजोको नाममा समाजमा छोरीबुहारीले शारीरिक, मानसिक यातना सहनुपरेको छ । कतिपय दाइजोकै कारण ससुराल पक्षबाट मारिएका घटना पनि छन् । ‘मैले जितेको नगरमा अब उप्रान्त दाइजोका कारण यस्ता घटना हुन दिन्नँ,’ उनले प्रतिबद्धता जनाउँदै भनिन् । निर्वाचित भएलगत्तै उनले आफ्नो दुवै छोराको बिहेमा दाइजो नलिने घोषणासमेत गरिन् ।

नगर क्षेत्रमा ११/१२ तहसम्म पढ्ने विद्यालय छैन । त्यसको व्यवस्था पनि तत्कालै गर्ने योजना आफूले बनाएको उनले बताइन् । मेयरमा विजय भएलगत्तै बिहीबार २ बजेदेखि विजयी जुलुसमा सहभागी रहेकी उनी साँझ करिब ५ बजे घर आइपुगेकी थिइन् । मतगणनाको सुरुवातदेखि अग्रता कायम गरेकी उनले राष्ट्रिय जनता पार्टीका रवीन्द्र पटेललाई १ हजार ७ सय ४ मत अन्तरले पराजित गरेकी हुन् । रीनाले ३ हजार ९ सय १२ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी पटेलले २ हजार २ सय ८ मत पाए । पटेल पनि पूर्वमाओवादी कार्यकर्ता हुन् । लामो समय पार्टीमा क्रियाशील भए पनि स्थानीय तह निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी राजपा प्रवेश गरेका थिए । नवनिर्वाचित मेयर रीना मधेसमा सक्रिय राजनीति गर्ने कमै महिलामध्येकी हुन् । एसएलसी उत्तीर्ण उनी अहिले पार्टीको मधेसी मोर्चाकी केन्द्रीय सदस्य हुन् । यही क्षेत्रबाट उनका पति प्रभु साहले दुईपटक सांसद पदमा जितिसकेका छन् । मौलापुरको उपमेयरमा माओवादीकै गौरीशंकरप्रसाद जयसवाल विजयी भएका छन् । दस वर्ष भूमिगत भएर शान्ति प्रक्रियामा आएलगत्तै उनले महिला सशक्तीकरणका लागि गाउँ–गाउँमा संगठन बलियो बनाएकी थिइन् । ‘युद्धका बेला हतियार नउठाए पनि पार्टीको काममा सक्रिय भएर लागिन्,’ उनका श्रीमान् सहरी विकासमन्त्री प्रभु साहले भने, ‘जनताकै लागि काम गरेकाले अहिले जनताले रीनालाई मेयरका रूपमा चुनेका हुन् ।’

समाचार

‘प्रदेश २ चुनावमा सत्ताको दुरुपयोग’

एमाले बैठक
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा सत्ताधारी दलले सत्ताको व्यापक दुरुपयोग गरेका कारण
आफ्नो पार्टीका पक्षमा अपेक्षित परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ । प्रदेश २ को मतपरिणाम सार्वजनिक भइरहेका बेला बिहीबार बसेको स्थायी समिति बैठकले चरम दुरुपयोग र भ्रामक प्रचारका बीचमा पनि पार्टीले हासिल गरिरहेको जित सन्तोषजनक भएको ठहर गरेको छ ।
केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न बसेको स्थायी समिति बैठकमा प्रदेश २ को चुनावको समेत समीक्षा भएको थियो । ‘निर्वाचन घोषणापछि स्थानीय तहको संख्या फेरबदल गर्ने, आचारसंहिता उल्लंघन गर्ने, सत्ताको दुरुपयोग गरेर मत प्रभावित गर्ने र एमालेविरुद्ध अनर्गल प्रचार गर्ने काम भयो,’ बैठकले पारित गरेको प्रस्ताव उल्लेख गर्दै एमाले उपाध्यक्ष भीम रावलले कान्तिपुरसँग भने, ‘यस्तो अवस्थामा पनि जनताले हामीलाई विश्वास गरेका छन् र समग्रमा हामी पहिलो पार्टीका रूपमा स्थापित भएका छौं ।’ एमालेलाई जसरी पनि पछि पार्ने रणनीतिअनुसार चुनावका सामान्य नियमसमेत बेवास्ता गर्दै सत्ताधारी दलहरू अघि बढेको बैठकको निष्कर्ष छ । बैठकले तीनवटा प्रस्ताव पनि पारित गरेको छ । सत्ताको दुरुपयोगका बीचमा पनि मत दिएकामा एमालेले जनतालाई धन्यवाद दिएको छ । त्यस्तै, विभिन्न स्थानमा मतगणनामा समेत अनियमितता गरिएको पाइएको भन्दै त्यसबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । वीरगन्ज महानगरपालिकाको एउटा वडामा एक मतले हारेका उम्मेदवारको पुन: गणना गर्दा ११ मतले जितेको प्रसंग उल्लेख गर्दै एमालेले यसबाट पनि मतगणनामा भएको त्रुटि र गडबडी पुष्टि हुने जनाएको छ ।

बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि यस्तै हर्कत हुन सक्ने भन्दै गम्भीर हुन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउनुपर्ने र तोकिएकै समयमा चुनाव हुनुपर्ने एमालेको निष्कर्ष छ । ‘आचारसंहिता उल्लंघनलाई कडाइका साथ रोक्न, सत्ताको दुरुपयोग बन्द गर्न र भय एवं आशंकाको वातावरण सिर्जना नगर्न बैठक सरकार र सम्बद्ध निकायसँग माग गर्दछ’ एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा छ । शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटीमा अध्यक्षले प्रतिवेदन पेस गर्ने र त्यसमाथि समूह बनाएर छलफल हुनेछ । अध्यक्षको प्रतिवेदनमा समग्र राजनीति, स्थानीय तह चुनावको समीक्षा, आउँदो चुनावको योजनालगायत कुरा आउने उपाध्यक्ष रावलले जानकारी दिए । उनका अनुसार केन्द्रीय समिति बैठकले उम्मेदार चयनको मापदण्डसमेत बनाउन सक्नेछ । त्यसका आधारमा प्रदेश र प्रतिनिधिसभा चुनावका लागि उम्मेदार छनोट हुनेछन् ।

समाचार

लम्बिँदै मनसुन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सामान्यतया असोज पहिलो साता (२३ सेप्टेम्बर) सम्म मात्र रहने मनसुन केही वर्षयता लम्बिँदै जान थालेको छ । यो वर्ष पनि केही दिन मनसुन लम्बिने संकेत देखिएको मौसमविद्ले बताएका छन् । ‘करिब १० दिन मनसुन बाहिरिने छाँट देखिन्न,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले भने, ‘दसैंमा पनि छिटफुट वर्षाको सम्भावना छ ।’ मध्य र पश्चिमी भागबाट १२ र पूर्वी भागबाट १५ अक्टोबरमा मनसुन पूर्ण रूपमा बाहिरिएको रिमालले बताए । ‘सतहको वायु पूर्वबाट पश्चिमतिर बग्ने क्रम जारी छ,’ उनले भने, ‘मनसुन सकिन उच्च वायुमण्डलमा पश्चिमी वायु शक्तिशाली हुनुपर्ने हो । त्यस्तो देखिएको छैन, त्यही भएर मनसुन लम्बिने देखिन्छ ।’

Page 11
Page 12
कला र शैली

सुकुल भोजमा सँझया सिर्जना

- सुनीता साखकर्मी

काठमाडौं– सहरमा पार्टी प्यालेसहरू बढ्दै छन् । केही थरीले पार्टी प्यालेस संस्कृतिकै कारण नेपाली मौलिक स्वाद हराउने खतरा बढिरहेको गुनासो गरिरहेका छन् । बुधबार साँझ ठिमीस्थित यचु पार्टी भेन्युमा भने भिन्न दृश्य देखियो । साहित्यकारहरू लस्करै बसेर ‘नेवा: भ्वय’ (नेवारी भोज) गरिरहेका थिए । परम्परागत नेवारी परिकार चाख्दै उनीहरूले कविता सुनाए, गजल वाचन गरे अनि समालोचकीय टिप्पणी गरे । ‘समय बजी’ सँगै नेवारी रक्सी र छयाङ चाख्ने लस्करमा थिए वरिष्ठ स्रष्टाहरू शैलेन्द्र साकार, गोपाल पराजुली, सरुभक्तदेखि विमल निभा, राजब, अविनाश श्रेष्ठ, युग पाठक, रोशन शेरचन, ज्योति जंगलदेखि बिना थिङसम्म । सिर्जना वाचनसहित नेवारी मौलिक परिकारको स्वाद लिने अवसर जुटाएको थियो सँझया साहित्यले । महिनाको हरेक दोस्रो शनिबार नयाँ एवं पुराना पुस्ताका तीन कविहरूलाई सिर्जना वाचनमा उभ्याउँदै आएको सँझयाले आफ्नो तेस्रो वार्षिकोत्सव अवसर पारेर विशेष साहित्यिक कार्यक्रम गरेको हो । तीन दर्जन स्रष्टाहरूको सिर्जना सुनेपछि समालोचनाका लागि उभिएका संगीत
नाटय प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले ‘नेपाली कविताहरूमा पछिल्लो समय भावनात्मक आवेग र राजनीतिक आक्रोश बढी आइरहेको’ दाबी गरे । ‘एक पटक लेखेको कविताले सदियौँसम्मका मानव जातिलाई उत्साहित गर्न सकोस्,’ उनले भने, ‘तर यस्तो हुन सकिरहेको छैन ।’
उनले चाहिँ ‘प्रेम, आलु र भन्टा एक्सप्रेस’ शीर्षकको कवितामा आधुनिकताले प्रेम गर्ने शैलीमा ल्याएको परिवर्तनमाथि व्यंग्य कसे । प्रेमको मूल्यमा भइरहेको विघटनसँगै बजार र विज्ञानले मारेको मान्छेको संवेदनामाथि उनको प्रहार थियो । कवि शैलेन्द्र साकारले ‘वर्षहरू किन यो’, गोपाल पराजुलीले ‘कात्रोमा पकेट हुँदैन’, विमल निभाले ‘इतिहासको पाठ’, राजबले ‘खबर’, अभिनाश श्रेष्ठले ‘गलैँचा बुन्नेहरूको गीत’, रोशन शेरचनले ‘नबनून् घाम छेक्ने घरहरू’, अभय श्रेष्ठले ‘जरुरी कुरा’, प्रगति राईले ‘सपनाको आतंक’, देवकी अभिलाषीले ‘आँसुको सौन्दर्य शास्त्र’, प्रकाश गुरागाईंले ‘खुट्टामा श्रीपेच’, जय गौडेलले ‘चेसभित्रको देश’, बिना थिङ तामाङले ‘ब्ल्याक होलमा मैच्याङ’, पवित्रा सुनारले ‘निलुवा डाँडा’, महेश पौडयालले ‘नानीहरू र पहेँलो घाम’, संगीतश्रोताले ‘झलकमानका नातिहरूको कर्खा’ सुनाए ।

त्यसैगरी, ज्योति जंगल, फूलमान वल, विक्रम पवन, अञ्जना इच्छमफूलले रामगोपाल आशुतोष, विनोदविक्रम केसी, त्रिभुवनचन्द्र वाग्ले, प्रसन्न घिमिरे, कपिल अञ्जान, रजनी मिलालगायतले पनि आआफ्ना सिर्जनामार्फत माहोल तताए । नेवारी भाषामा कविता लेख्दै आएका स्रष्टा नवीनप्रकाश श्रेष्ठले नेपाली भाषामा ‘देवता, बुद्ध र मानिसहरू’ सुनाएर सुरु भएको कार्यक्रमको अन्त्य ‘नेवा: भ्वय’ (नेवारी भोज) बाट गर्नुको अर्थ ‘साहित्यदेखि जीवनशैलीसम्म किनारीकृतहरूको आवाजलाई प्रवद्र्धन गर्नु’ रहेको सँझया अभियन्ता कवि रामगोपाल आशुतोषले जनाए । ‘अब विस्तारै नेपाली मौलिक खानेकुरा नै हराउने खतरा बढयो,’ यचु पार्टी भेन्युका सञ्चालकसमेत रहेका कवि नवीन प्रकाशले भने, ‘सहरका सबै पार्टी प्यालेसलाई मौलिक खानेकुराको मेन्यु राख्न लाए मात्रै अब परम्परागत जोगिन सक्छ ।’

कला र शैली

‘ऐश्वर्य’ ट्रेलरले बढायो आस

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘ऐश्वर्य’ को बिहीबार ट्रेलर सार्वजनिक गरिएको छ । दिवाकर भट्टराई निर्देशित उक्त फिल्मको ट्रेलरमा एक युवतीका लागि दुई युवाबीचको टकराव देख्न सकिन्छ । यसै फिल्मबाट नायिकामा डेब्यु गर्दै गरेकी दीपिका प्रसाईंसँगै नायक रमेश उप्रेती र खलनायक प्रशान्त ताम्राकार फिल्मका मुख्य तीन पात्रका रूपमा रहेका छन् भने फिल्ममा केकी अधिकारी, अर्जुन श्रेष्ठ, विकास खतिवडा, केशव भट्टराई, अमित पोखरेललगायतको पनि अभिनय रहेको छ ।‘मृत्युको कुनै पल तिमीलाई...’ बोलको गीतबाट हाइप पाएको ‘ऐश्वर्य’ मा साहिल खान सम्पादित एक्सन शैलीको ट्रेलरलाई यतिबेला अधिकांशले रुचाएका छन् । ‘मेरो लागि यो फिल्म मेकरको रूपमा एउटा ट्रायल हो । थाहा छैन, मैले दुस्साहस गरें वा राम्रो काम ?’ निर्माण समेत गरेका नायक उप्रेतीले भने, ‘धेरैपछि फिल्ममा आउन लागेकोले डर लागेको छ । यो डर शक्तिमा बदलिन्छ कि ? गीत र ट्रेलरबाट फिल्मप्रति दर्शकमा जागेको आशा र भरोसालाई तोड्न दिने छैन ।’ निर्देशक भट्टराईकै पटकथा लेखन रहेको फिल्मलाई सुदीप बरालले खिचेका हुन् भने हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । दीर्घ खड्काले सम्पादन गरेको फिल्म छठको छेको पारेर कात्तिक ९ देखि देशव्यापी रूपमा हलमा लाग्दै छ ।

कला र शैली

प्रियंकाको ‘छोटो चोली’ माथि फोकस

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– यसअघि ‘सरी...’ बोलको गीत सार्वजनिक गरेको ‘फाटेको जुत्ता’ निर्माण पक्षले बुधबार नयाँ आइटम गीत ‘चोली...’ युटयुबमार्फत सार्वजनिक गरेको छ । ‘चोली अलि छोटो के लाएथें, यो सारा सहरले लगायो मैमाथि फोकस...’ भन्दै उक्त गीतमा नायिका प्रियंका कार्की बोल्ड अवतारसहित नाचेकी छन् । जसमा नायक सौगात मल्ल पनि फिचरिङ छन् ।अर्जुनकुमार फिल्मस्को ब्यानरमा निर्मित उक्त फिल्मको ‘चोली...’ गीतलाई ‘ठमेल बजार’ फेम गायिका मीना निरौलाले शंकर थापासँग युगल रूपमा गाएकी छन् । शंकरकै संगीत रहेको उक्त गीत डीपी खनालले लेखेका हुन् । तराईको पृष्ठभूमि झल्कने गरी खिचिएको उक्त गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । निरज कँडेलको छायांकन रहेको फिल्मको निर्माता अर्जुनकुमार रहेका छन् । निकेश खड्काको निर्देशन रहेको ‘फाटेको जुत्ता’ कात्तिक १७ देखि प्रदर्शनमा आउँदै छ ।

कला र शैली

सुदूरपश्चिमको सुवास

- कान्तिपुर संवाददाता
लालप्रसाद शर्मा

पोखरा– सुदूरपश्चिमको डोटीका कवि हेमन्त विवश बिहीबार पोखरामा प्रस्तुत भए । अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानले उनलाई एकल कविता वाचनमा उभ्याएको हो । पर्यटन बोर्डको हलमा हेमन्तले आफ्ना पद्य र गद्य
गरी २३ कविता सुनाए । ‘आमा’ शीर्षकको कवितामा सुदूरपश्चिमेली महिलाको कथाव्यथा बुन्दै उनले वाचन थालेका थिए । यसपछि जातीय विभेद, गरिबी, सिमान्तकृत समाज, छाउपडीदेखि अपहेलित समुदाय तथा बिदेसिनु पर्दाको पीडासम्मलाई कवितामा उने । ‘सुदूरपश्चिमको एउटा कविलाई पोखराले न्यानो माया दिएकोमा भावुक बनेको छु,’ उनले भने । देउडा र पश्चिमी झयाउरे गीतसमेत गाउँदै आएका उनले कविता र गीतबाट लोककवि अलि मियाँको सम्झनासमेत गरे । प्रतिष्ठानले पनि उनलाई दोसल्ला र कदरपत्रसहित सम्मान गर्‍यो । उपहार स्वरूप सारंगी दिइयो । सारंगी पाएपछि हेमन्तले झलकमान गन्धर्व सम्झिँदै गीत गाए । हेमन्तका कवितामाथि टिप्पणी गर्दै गजलकार प्रकट पँगेनी शिवले ‘सुदूरपश्चिममै पुगेको अनुभूति भएको’ दाबी गरे । पद्मराज ढकालले उनका कवितामा सुदूरपश्चिमको प्राकृतिक र सांस्कृतिक दुवै बास्ना आएको बताए ।

कला र शैली

जो गुगलमा बारम्बार खोजिए

करिना कपुर बलिउडकी ख्यातिप्राप्त अभिनेत्री हुन् । उनीबारे मिडियाले सकेसम्म धेरै जानकारी दिन खोजिरहेको हुन्छ । झन्डै दुई दशकदेखि फिल्म क्षेत्रमा सक्रिय रहँदै आएकी उनी राम्रै मिडिया कभरेज पाइरहेकी पनि छन् । अचेल त उनको छोरा तैमुर खानसमेत समाचारको पात्र बन्ने गरेका छन् ।
दर्शक–पाठकका लागि सञ्चारमाध्यमले अनेक खुराक पस्किरहे पनि करिनाबारे गुगलमा खोजी हुने कुराचाहिँ अति सामान्य छन् । सेप्टेम्बर २१ अर्थात् बिहीबार ३७ औं वर्षमा उक्लिएकी करिना इन्टरनेटमा धेरै खोजिने बलिउड सेलिब्रिटीमध्ये एक हुन् । खोज्नेहरूले प्राय: उनको उमेर, शैक्षिक योग्यता, पतिको नाम, विवाह मिति आदि खोज्ने गर्छन् । ‘हु इज करिना कपुर ?’ भनेर पनि मनग्गे खोजी हुने गरेको आज तकको वेबसाइटमा उल्लेख छ । त्यहाँ लेखिएको छ, ‘कतिपय प्रश्न देखेर अचम्म लाग्न सक्छ । उनी को हुन् भनेर पनि खोजिँदो रहेछ । कपुर खानदानकी छोरी पटौदी खानदानकी बुहारी हुन् । उनका बाबु रणधीर र आमा बबिता दुवै कलाकार हुन् । करिनाकी दिदी करिश्मा पनि चर्चित अभिनेत्री हुन् ।’करिना विवाहित हुन् कि होइनन् ? उनले कति पढेकी छन् ? हु इज हर हस्बेन्ड ? सेफ अलि र करिनाले कहिले विवाह गरे ? जस्ता प्रश्नको जवाफ इन्टरनेटबाट थाहा पाउन खोजिन्छ । कतिपयलाई चाहिँ बेबोको तौल र उचाइबारे पनि चासो हुँदो रहेछ । उनी ५४ किलोकी छन् भने ५ फिट ५ इन्च अग्ली छन् ।

अभिनेता शाहरुख खानले भने एक दिन फुर्सद मिलाएरै आफूबारे फ्रिक्वेन्ट्ली गुगल्ड कोइस्चन (बारम्बार सोधिने प्रश्न) को जवाफ दिएका थिए । मसला डट कमसँगको कुराकानीमा उनले आफ्नो असली नाम, फोन नम्बर, टयाटु आदिबारे खुलस्त पारेका छन् । ‘शाहरुख विश्वकै सर्वाधिक धनी एक्टर हुन् ?’ भन्ने प्रश्नमा उनको उत्तर छ, ‘सेकेन्ड लास्ट हुँ भन्ने सुनेको थिएँ । तर, म धनी छैन । सर्वाधिक धनी भइदिएको भए राम्रो हुन्थ्यो ।’
के शाहरुखसँग निजी विमान छ ? उनले टयाटु खोपाएका छन् कि छैनन् ? भन्ने प्रश्न पनि पटकपटक गुगल गरिन्छ । शाहरुख भन्छन्, ‘प्राइभेट जेट छैन । तर, त्यसका लागि मिहिनेत गर्दै छु । एक हजारवटा फिल्म खेलिसकेपछि त एउटा जेट किनिएला नि ।’ उनले जीउमा टयाटु नभएको र टयाटु हान्न डर लाग्ने बताएका छन् । यद्यपि, फिल्म ‘जब हयारी मेट सेजल’ मा टयाटु देखिएको थियो । त्यो टेम्पोररी भएको शाहरुखको भनाइ छ ।

‘ह्वाट इज शाहरुख खान्स फोन नम्बर ?’ यस्तो टाइप गरियो भने अनेकन नम्बर स्क्रिनमा आउँछन् । शाहरुखले चाहिँ अर्कै नम्बर दिएका छन् । ‘५५५९९६०३२१ मा फोन गर्नू,’ उनले ठट्टा गरेका छन्, ‘उठेन भने म्यासेज छोड्नुस् । म इमोजीसहित प्रतिक्रिया दिउँला ।’ भिडियोसहित उपलब्ध अन्तरवार्तामा ‘ह्वाट इज शाहरुख खान डुइङ नाउ ?’ ‘क्यान शाहरुख खान सिङ ?’ जस्ता प्रश्न पनि बारम्बार सोधिने गरेको देखेर अभिनेता हाँसेका छन् ।

कला र शैली

रहेनन् प्राज्ञ राई

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– चित्रकार एवं पूर्वप्राज्ञ शान्तकुमार राईको बुधबार राति निधन भएको छ । ५६ वर्षीय राई पेटको क्यान्सर कारण डेढ महिनाअघि क्यान्सर अस्पताल हरिसिद्धिमा भर्ना भएका थिए । अस्पतालमै उनको निधन भएको हो । ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागका पूर्वप्रमुख राई एक्रेलिक, वाटर कलर र तैल माध्यमबाट नारी संवेदना झल्किने चित्रहरू कोर्थे । लैनसिंह वाङ्देलका शिष्य राईले नेपाल, भारत, दक्षिण कोरिया, बेलायत लगायत देशमा थुप्रैपटक चित्र प्रदर्शनी गरेका थिए । नेपाल ललितकला मञ्चका संस्थापक अध्यक्ष, नेपाल कलाकार समाजका महासचिव, किराँत कलाकार समाजका अध्यक्ष, वाटर कलर सोसाइटीका संस्थापकसमेत रहेका राई लामो समय कृषि विकास बैंकमा चित्रकारको रूपमा कार्यरत थिए । २०७२ को महाभूकम्पका बेला ‘ललितकला हातेमालो अभियान’ समेत चलाएका उनी इलाममा जन्मेका हुन् । भैंसेपाटीस्थित घरमा किराँत परम्पराअनुसार अन्तिम संस्कार गरेपछि बिहीबार राईको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । बिहीबारै उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो । राईका पत्नी र एक
छोरा छन् ।

कला र शैली

‘उकाली ओराली’ बजारमा

- कान्तिपुर संवाददाता

काठमाडौं– गीतकार ईश्वर श्रेष्ठको पहिलो गीति एल्बम ‘उकाली ओलारी’ घटस्थापनाको अवसर पारेर बिहीबार विमोचन गरिएको छ । पाँच गीत समावेश एल्बममा ‘वारिपारि’ नामक तीज गीत बोनसको रूपमा एल्बममा राखिएको छ । दीपक शर्माको एकल संगीत तथा ईश्वर श्रेष्ठको एकल रचनामा गायक/गायिका रामकृष्ण ढकाल, राजेशपायल राई, स्वरूपराज आचार्य, बिन्दु परियार, सुरेश लामा, प्रताप लामा, विक्रम राई, ध्रुव बिस्को, मेनुका राईले स्वर दिएका छन् । आमोस तामाङको संगीत संयोजन रहेको छ । कार्यक्रममा प्रमुख अतिथि लक्ष्मण श्रेष्ठले सांगीतिक क्षेत्रमा ईश्वर श्रेष्ठको ‘उकाली ओराली’ ले सांगीतिक विकासमा नयाँ इँटा थपोस् भन्दै शुभकामना दिएका थिए भने गीतकार राजेन्द्र थापाले हरेक गीतले दर्शक, श्रोताको मन छुने सरल किसिमको रहेको बताए । गीतकार संघका अध्यक्ष चूडामणि दाहाललगायतले ‘उकाली ओराली’ एल्बमको सफलताको शुभकामना दिए । एल्बममा समावेश गीत ‘ओरालो झरे जस्तो...’ को भिडियोसमेत सार्वजनिक गरियो । विकास लामिछाने र रिमा विश्वकर्माको फिचरिङ रहेको उक्त म्युजिक भिडियोमा रामकृष्ण ढकालको स्वर छ भने निर्देशन युवराज वाइबाले गरेका हुन् । संगीतकार दीपक शर्माले एल्बममा समावेश गीतलाई न्याय गर्ने कोसिस आफूले गरेको बताए ।

Page 13
Page 14
देश

सुत्केरी हुन नसकेर किशोरीको मृत्यु

- अर्जुन शाह

सुत्केरी हुन नसकेर मृत्यु भएकी १६ वर्षीया सिद्धा विकका आफन्त बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा । तस्बिर : अर्जुन/कान्तिपुर

बाजुरा– भर्खर १६ वर्ष पुग्दै गरेकी दलित समुदायकी उनी अविवाहित थिइन् । गाउँकै गैरदलित एक विवाहित युवकले ललाई–फकाई यौनसम्बन्ध राखे । किशोरी गर्भवती भइन् । घटना सार्वजनिक भएपछि पाँचौं महिनामा
ती युवक गाउँ छाडेर भारत पसे । यता विपन्न परिवारकी किशोरी अलपत्र परिन् । नवौं महिना पुगेपछि सुत्केरी व्यथा सुरु भयो । अभिभावकले घरमै सुत्केरी भइहाल्लिन् भन्ने ठानेर स्वास्थ्यसंस्था लैजाने सुरसार गरेनन् । पीडा असह्य हँुदै गएपछि बल्ल पाँचौं दिन करिब ७ घण्टाको दूरीमा पैदल बोकेर कोल्टीस्थित स्वास्थ्यसंस्था पुर्‍याइयो । त्यतिन्जेल ढिलो भइसकेको थियो ।
‘ढिलो गरी ल्याइएको र शल्यक्रिया गर्ने सुविधा नभएकाले उनलाई बचाउन सकिएन,’ डा. विजयकुमार साहले भने, ‘शिशुको गर्भमै मृत्यु भएर गन्हाउने अवस्था थियो । आमालाई बचाउन शल्यक्रिया गर्नुको विकल्प थिएन ।’ तर, कोल्टीमा शल्यक्रियाको सुविधा छैन ।हिमाली गाउँपालिका–६ पाणी गाउँकी १६ वर्षीया सिद्धा विकको बच्चा जन्माउन नसकेरै बिहीबार बिहान मृत्यु भयो । बुधबार साँझ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइए पनि ढिलो भएकाले चिकित्सकले बचाउन सकेनन् । स्वास्थ्यकर्मीले उपचार हुन नसक्ने बताउँदै बुधबार नै रिफर गरेका थिए । अभिभावकले कोल्टी विमानस्थलबाट नेपालगन्ज लैजान जहाज कुर्दाकुर्दै सिद्धाको मृत्यु भयो । ‘प्रसूति भइहाल्छिन् भन्ने सोचेर सुरुमा घरमै कुर्‍यौं, कोल्टी पुर्‍याउँदा डाक्टरले ढिलो भयो भनेपछि जहाजको बाटो हेर्दाहेर्दै मृत्यु भयो,’ भाइ प्रशान्तले भने, ‘समयमा जहाज आएन, अन्य वैकल्पिक उपाय पनि भएन ।’ सदरमुकाम मार्तडीमा शल्यक्रियासहितको सेवा उपलब्ध छ । तर, कोल्टीबाट त्यहाँ पुग्न एक दिन हिँड्नुपर्छ ।

सिद्धाले गर्भ बोकेको सार्वजनिक भएपछि गाउँकै २६ वर्षीय श्रीचन्द्र रोकायाले संलग्नता स्विकारेको प्रशान्तले बताए । रोकाया दुई छोरीका बाबु हुन् । उनले सिद्धालाई जिम्मा भने लिएनन् । विपन्न दलित परिवार भएकाले अभिभावकले न्यायिक निकायमा उजुरीसमेत गर्न सकेनन् । ‘बाबु भारतमा चौकीदारी गर्न गएकाले उजुरबाजुर गर्ने हिम्मतै भएन, उनी भागेर गइहाले’, प्रशान्तले भने । जिल्लामा परिबन्धमा परेकाबाहेक कलिलो उमेरमा गर्भवती भएर प्रसूतिका बेला जोखिम बेहोरेका घटना अरू पनि थुप्रै छन् । साबिकका हरेक गाविसमा कलिलो उमेरमा गर्भवती र सुत्केरी हुनेको संख्या उच्च रहेको तथ्यांक छ । तोली स्वास्थ्यचौकीको तथ्यांकअनुसार गत आवमा सुत्केरी हुन आएकामध्ये

४० जनाको उमेर २० वर्ष पुगेको थिएन । जिल्लाको पूर्वोत्तरमा पर्ने कोल्टी क्षेत्रका साबिकका ११ गाविस र छिमेकी मुगु र हुम्लाका बिरामीको उपचार गर्ने थलो कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हो । यहाँ विमानस्थलसमेत रहेकाले जिल्ला बाहिर लैजानुपरे सजिलो हुने ठानिन्छ । यो केन्द्रमा गत वर्ष सुत्केरी गराउन आएका २ सय ४७ मध्ये ९७ जना २० वर्षभन्दा कम उमेरका रहेको तथ्यांक छ । जिल्लाभरको विवरण हेर्दा गत आवमा स्वास्थ्य संस्थामा सुत्केरी गराउन आएका २ हजार २ सय ८८ मध्ये ६ सय ८२ जना २० वर्षमुनिका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

देश

अस्पताल पुर्‍याउनै मुस्किल

अछाम (कास)– मंगलसेन नगरपालिका–३ की ७५ वर्षीया झुमा विकलाई मंगलबार राति अचानक श्वास फेर्न गाह्रो भयो । घरमा साना २ नातिनी, ३ नाति र बुहारी मात्रै थिए । एक मात्र छोरा उमेश रोजगारीका लागि भारतमा छन् । बच्चाबच्ची र महिला मात्र भएकाले विकलाई तत्काल अस्पताल लैजान सम्भव भएन । बिहान बुहारी जौमती स्ट्रेचर र अस्पताल लगिदिने मान्छे खोज्न गाउँतिर लागिन् । बल्लतल्ल बोक्ने मान्छे त भेटिए तर स्ट्रेचर पाइनन् । सदरमुकामस्थित जिल्ला अस्पताल गाउँबाट टाढै पर्छ । जौमती र भतिजा शंकरले बिहान ११ बजे मात्रै उनलाई अस्पताल पुर्‍याए ।
बिरामीको अवस्था नाजुक भइसकेको थियो । ‘रातभर रोएरै बितायांै,’ जौमतीले भनिन्, ‘न आफ्नो वडामा स्वास्थ्यचौकी छ न त अस्पतालसम्म बोकेर लगिदिने मान्छे पाइन्छन् ।’ ठाँटीकी २३ वर्षीया उर्मिला कुँवरलाई सुत्केरी व्यथा लागेको ७ घण्टासम्म पनि स्वास्थ्यसंस्था पुर्‍याउन सकिएन । बाजुराको रीठा बजारनजिक पर्ने भएकाले जिप व्यवस्था गरी त्यसैमा लगियो । तर, आधा बाटो काटेपछि खोलाबाट जिप पार गर्न नसक्दा उनी त्यहीँ बच्चा जन्माउन बाध्य भइन् । ‘एउटा गाउँका लागि दिइएको स्ट्रेचर २/३ गाउँसम्म प्रयोग हुन थाल्यो,’ पति रमेश कँुवरले
भने, ‘गर्भवती, बालबालिका, वृद्धवृद्धा बिरामी हुँदा ज्यानै जोखिममा हुन्छ ।’जिल्लाका प्रत्येक गाउँ सडकले छोए पनि गाडी नगुडदा बिरामीलाई अस्पताल पुर्‍याउन समय लाग्ने स्थानीयको भनाइ छ । जिल्लाका १० स्थानीय तहका ९१ वटा वडामध्ये १२ वटामा एउटै स्वास्थ्यसंस्था छैनन् ।
स्थानीयलाई सेवा लिन निकै अप्ठ्यारो भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुंगानाले बताए । सदमुकाम मंगलसेन नगरपालिकाकै ५ वटा वडामा स्वास्थ्य संस्थाको कुनै संरचना छैन । गत वर्ष जिल्लाका लागि ४५ वटा स्ट्रेचर खरिद गर्न बजेट आएको र ४५ वटै
बर्थिङ सेन्टरलाई दिइएको ढुंगानाले बताए । ‘साबिकका ७५ गाविसमा ४५ स्ट्रेचर मात्र खरिद गरेर पठाउँदा सबैलाई नपुगेको भनी विवाद पनि भएको हो,’ उनले भने, ‘एक स्ट्रेचरलाई बढीमा ६ महिनासम्म चलाउन सकिन्छ । त्यसपछि च्यातिएर बिरामी बोक्न मिल्दैन ।’ समयमा स्वास्थ्यचौकी नल्याउँदा स्थिति अझ गम्भीर भएर धेरै बिरामीलाई अन्त रेफर गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

देश

‘गुहार मागेको सुनेर पनि बचाउन सकेनौं’

जलेर परिवारका ४ को मृत्यु
- अर्जुन राजवंशी

कानेपोखरी (मोरङ)– मध्यरातमा कसैले बोलाएकोजस्तो लागेपछि रीता बस्नेत ब्युँझिइन् । झ्यालबाट बाहिर हेर्दा छिमेकी चन्द्रबहादुर राईको घरमा आगो लागेको देखिन् । हतारहतार बाहिर निस्किएर उनी चिच्याउन थालिन् ।
‘मैले चन्द्र दाइ भनेर चिच्याएँ । आगोको मुस्लोबाट बचाऊ–बचाऊ भन्ने आवाज आयो,’ उनले भनिन्, ‘३/४ पटक आवाज आयो । त्यसपछि आवाज बन्द भयो ।’ राईको घर जल्दै गरेको घटनाको पहिलो साक्षी थिइन् बस्नेत । आगलागीबाट राईको घरमा रहेको ग्यास सिलिन्डर पड्किएपछि अरू गाउँले पनि भेला भए ।‘हामी भेला हुँदासम्म धेरै ढिला भइसकेको थियो । पूरै घरमा लागो लागिसकेको थियो’ रीताका श्रीमान् कृष्ण बस्नेतले भने, ‘आगोको रापले हामी नजिकसम्म जानै सकेनौं । १५ मिटर परै बसेर आगोको मुस्लो हेर्नु सिवाय हाम्रो केही लागेन ।’ बेलुका पानी परे पनि आगलागीको समयमा रोकिएको थियो । पूर्वबाट हावा चलेकाले आगो चाँडै घरका सबै भागमा फैलिएको स्थानीयले बताए ।चन्द्रबहादुरले पसलमा पेट्रोल र डिजेलसमेत राख्ने गरेकाले आगो ठूलो बलेको स्थानीय सुमन थोक्लेले बताए । ‘आगोको मुस्लो यति ठूलो थियो कि, हामी कति गर्दा पनि त्यहाँसम्म पुग्न सकेनौं’, उनले भने, ‘ग्यास पड्किने डरले पनि आगोको नजिक जान सकिएन ।’आगलागीबाट किराना पसलसहितको दुई तले नौ बुर्जे काठको घर जलेर नष्ट भएको छ । आगोले जलेर राईसहित उनकी ८६ वर्षीया आमा गंगामाया, श्रीमती पार्वती र बहिनी विष्णुकुमारीको मृत्यु भएको हो । उनीहरू सबै माथिल्लो तलमा सुतेका थिए । मितेरी नाता
पर्ने कविराज याख्याले भने, ‘दाजु झ्याल फुटाएर हामफाल्नुभएको भए, बाहिर निस्कन सक्नुहुन्थ्यो होला । तर, बिरामी आमालाई छाडेर हामफाल्न सक्नु भएन ।’

उनका अनुसार घरबाट बाहिर निस्किने एउटा मात्र ढोका थियो । ढोकामा भित्रबाट ठूलो ताला लगाइएको थियो । ‘ढोकामा मोटो रड लगाएर ताला लगाइएको रहेछ । ताला खोल्ने चाबी नभेटाउँदा कोही बाहिर निस्किन नसकेको अवस्था देखिन्छ,’ याख्याले भने, ‘घटना हेर्दा धेरै प्रयास गर्दा पनि ढोका खोल्न नसकेको देखिन्छ । भाउजु र दिदीको लास ढोका नजिकै भेटियो । दाजुको चाहिँ भित्र कोठामा आमासँगै भेटियो ।’ उनले थपे, ‘आमा लामो समयदेखि बिरामी थिइन् । आगोको मुस्लोबाट आमालाई बाहिर निकाल्न सक्ने अवस्था नदेखेपछि आमालाई समाएर आफ्नो पनि प्राण त्यागेको जस्तो हामीले पायौं ।’

राईका छोराछोरी राजकुमार र रचना अध्ययनका लागि काठमाडौंमा बस्दै आएका छन् । बहिनी विष्णुकुमारी बुधबार बेलुका बिरामी आमालाई भेट्न गएकी थिइन् । भाउजू पार्वती पनि बिरामी नै भएकाले विष्णुकुमारी बुधबार राति दाजुकै घरमा बसेकी थिइन् । चन्द्रबहादुर पूर्वजनप्रतिनिधिसमेत हुन् । जिल्ला प्रहरी मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार आगलागीबाट एक करोडभन्दा बढीको सम्पत्ति जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ । आगलागीको कारण यकिन नभए पनि बिजुली सर्ट भई सुरु भएको अनुमान गरिएको छ ।

देश

त्रिपालमुनि जमरा

- राजेन्द्र मानन्धर

दोलखा– दोलखा बजारस्थित तलेजु मन्दिरमा दसैंका बेला जमरा राख्ने चलन परम्परादेखिकै हो । तर, भूकम्पले मन्दिर भत्किएपछि दुई वर्षयता यहाँ छाप्रो बनाएर त्रिपालको ओतमा परम्परा धानिँदै छ ।प्राचीन राज्य व्यवस्था अस्तित्वमा रहँदादेखि हालसम्म चल्दै आएको संस्कारअनुसार सरकारी जमरा राख्ने घर राजकुलेश्वरस्थित तलेजु मन्दिर भूकम्पले जगैदेखि भत्किएको थियो । ‘दसैंपर्व सुरु भएको झल्को दिने तलेजु मन्दिरको प्रतीकस्वरूप छाप्रो बनाएर घटस्थापना गर्न काम चलाइयो,’ ६४ वर्षीय पुजारी आनन्दमान प्रधानले भने । यहाँ राखिएको जमरा दोलखा बजारभरिका मानिसले दसैंको सरकारी प्रसाद भनेर प्रयोग गर्छन् । नेवारी संस्कार र संस्कृति प्रचलनमा रहेको दोलखा बजारका हरेक कुलमा समेत जमरा राखिन्छ । सबै जमरास्थल छाप्रा र टहरामै बनाइएको पुजारी आनन्दमानले बताए । तलेजुको जमरा राख्न, पूजा चलाउन र जात्रा व्यवस्थापन गर्न भीमेश्वर पूजा व्यवस्थापन समितिले चामल, चिउरा र पाँचवटा बोका उपलब्ध गराउँछ । गुठियार पूर्णबहादुर श्रेष्ठका अनुसार प्राचीन सहर दोलखाको पुरातात्त्विक महत्त्वको मन्दिर भत्किँदा खड्गजात्रालाई समेत असर पुर्‍याइरहेको छ ।दोलखाको पुनर्निर्माण कार्यक्रम अन्तर्गत तलेजु भवन निर्माण गर्न स्विस सरकारले सहयोग गरेको छ । हालसम्म भवन निर्माण कार्य नभएकाले काठ र जस्ताले बेरिएको छाप्रोमा त्रिपालको ओत हालेर जमरा राख्ने कार्य सम्पन्न गरिएको गुठियार पूर्णबहादुरले बताए ।घटस्थापनाका दिन बिहानै राजहिटी (तीनधारा) बाट चोखो पानी ल्याएर पुरोहितबाट पूजापाठ गराउनुपर्छ । यस वर्ष भने तलेजु मन्दिरको टहरा बनाइनसकेकाले मध्याह्नबाट मात्र पूजा सुरु भयो । पूजापाठपछि बाजागाजासहित तीनधाराको गणेश मन्दिर दर्शन गरिन्छ । त्यसपछि फर्किएका गुठियार, पुजारी र पुरोहितले तलेजु मन्दिरमा जौ रोपेर जमरा राख्छन् । दोलखा बजारका अधिकांश मन्दिर, कुल्यानघर, जात्रापर्व निकालिने घर भत्किएका छन् । व्यक्तिका घर पनि पुनर्निर्माण हुन सकेको छैन । बजारको स्वरूपलाई प्राचीन ढाँचाको झल्को दिने पुनर्निर्माण गर्नुपर्ने बहस भइरहेको छ । केही व्यक्तिगतबाहेक अरू घर पुनर्निर्माण थालिएको छैन । त्यसैले यस वर्ष पनि छाप्रा बनाएर जमरा राखिएको भीमेश्वर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठले बताए ।

देश

‘चीन र भारतबाट छिटै रेल’

- कान्तिपुर संवाददाता

कपिलवस्तु (कास)– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चीनबाट लुम्बिनी र भारतबाट काठमाडौंसम्म रेलसेवा छिटै सुरु हुने बताएका छन् । जिल्लास्थित सीमा बजार कृष्णनगरमा बिहीबार आयोजित कार्यक्रममा उनले मधेस, पहाड र हिमालको आर्थिक उन्नतिका लागि चीन र भारतबाट आउने रेलले महत्त्वपूर्ण भूमिका खेल्ने जनाए । दुवै देशका सरकारसँग आफ्नो नेतृत्वमा रेलसेवा ल्याउने कुराकानी भएको उल्लेख गर्दै दाहालले यसबाट मुलुकको कायापलट हुने बताए । ‘चीनबाट केरुङ हुँदै पोखरा भएर लुम्बिनीसम्म रेल आउँछ,’ उनले भने, ‘भारतबाट कृष्णनगर नजिकको बढनी हुँदै हेटौंडा भएर काठमाडौंसम्म लैजाने योजना छ ।’ भारतको बढनीबाट काठमाडौं पुग्ने रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम सुरु भइसकेको उनले बताए । ‘त्यसपछि दुवै देशसँगको सम्बन्ध अझ मजबुत हुन्छ,’ उनले भने ।’ आफू दोस्रो पटक १० महिना सरकार प्रमुख हुँदा मधेसको हकहित स्थापना र अधिकार सम्पन्न बनाउन भूमिका खेलेको दाहालले बताए । ‘मैले मधेससँग लभ परेको कुरा त्यसै भनेको होइन,’ उनले भने, ‘नयाँ संविधान मधेसमा स्वीकारयोग्य बनाउन दिन–रात लागेको छु ।’ सबै दल मिली स्थानीय तह निर्वाचन पूरा गरेर लोकतन्त्र मजबुत बनाएको दाहालले बताए । ‘प्रदेश र संघको चुनाव भएछि बल्ल मुलुकमा राजनितिक स्थायित्व हुन्छ,’ उनले भने, ‘त्यसपछि हाम्रो मुख्य लक्ष्य भनेकै समृद्धि र उन्नति हो, यसैका लागि हामी क्रान्ति गरेका थियौं ।’ मुलुुकै पुरानो बजार कृष्णनगरलाई ‘स्मार्टसिटी’ बनाउने दाबी उनले गरे ।

देश

वर्ष बित्यो, घर बनेनन्

भूकम्पपीडित
- कुम्भराज राई

मानेभन्ज्याङ (ओखलढुंगा)– मानेभन्ज्याङ गाउँपालिका–२ वाक्साका विष्णुबहादुर कार्कीले पुनर्निर्माणको पहिलो किस्ता लिएको एक वर्ष बित्यो । उनले बल्ल घरको डीपीसी (जग) को काम सके । आगामी पुसभित्र दोस्रो किस्ता लिइसक्नुपर्छ । तर, घरको बाँकी काम रोकिएकै महिनौं भइसक्यो । ‘दक्ष कामदारको अभाव छ । एक महिनापछि मात्रै काम गर्ने टोली आउँछौं भनेका छन्,’ उनले भने, ‘प्राविधिक पनि गाउँमा आएका छैनन् । दोस्रो किस्ताको फाराम भर्न बाँकी नै छ ।’सोही गाउँकी शब्दी तामाङको समस्या पनि उस्तै छ । डीपीसी गरेर दोस्रो किस्ताको फाराम भरेको, अझै रकम प्राप्त भएको छैन । ‘एकातिर कामदार पाइन्न,’ उनले भनिन्, ‘अर्कोतिर भनेको समयमा किस्ता आउँदैन । अनि कसरी समयमा घर बनाउने ?’उनी एकल महिला हुन् । यो दसैं पनि जीर्ण घरमै बसेर मनाउनुपर्ने बाध्यता छ । विष्णु र शब्दी मात्रै होइन, वाक्सामै सयौंको यस्तै समस्या छ । पुनर्निर्माण प्राधिकरणले ०७५ असार मसान्तभित्र घर निर्माण गरी अन्तिम किस्ता बुझिसक्नुपर्ने सूचना जारी गरेको छ । अर्कोतिर पहिलो किस्ता लिएको एक वर्ष बित्दा पनि घर बन्न सकेका छैनन् । यहाँ भूकम्प प्रतिरोधी घर बनाउन योग्य कामदारका दुई टोली मात्र छन् । ‘एउटा टोलीले वर्षमा चारवटा घर मात्र बनाउन भ्याउँछन्,’ पूर्व गाविस अध्यक्ष डम्बरबहादुर कार्कीले भने, ‘सयौं घर बनाउनु छ । वर्षमा आठ वटा घर बनाएर कहिले सकिन्छ ?’


गाउँमा प्राविधिक बस्दैनन्

वाक्साकै डम्मरबहादुर कार्कीलाई प्राविधिकले आएर सुरुमा घर बनाउने तरिका ‘ब्रिफिङ’ गरे । सोही आधारमा कामदारले घर बनाए । बीचमा पटकपटक प्राविधिकलाई कार्कीले बोलाए । तर प्राविधिक विभिन्न समस्या देखाएर आएनन् । जब घर बनिसक्यो त्यसपछि आएर उनलाई घर मापदण्डअनुसार नबनेको बताए ।अब कसरी घरलाई मापदण्डबमोजिम बनाउने होला भन्ने समस्या सुल्झाउन उनले फेरि प्राविधिक बोलाए । तर अझै आएका छैनन् । ‘टेलिफोन गर्दा सदरमुकाममा छु भने,’ कार्कीले भने, ‘ठिकै छ सदरमुकाममै भए पनि भेटेर आउँछु भनेर उस्तै समस्या परेका छिमेकीलाई समेत लिएर सदरमुकाम पुगेँ । त्यहाँ पुगेर फोन गरेको, उनले म त काठमाडौं पो छु भने ।’ यो समस्या वाक्साको मात्रै होइन । अधिकांश वडामा यस्तै समस्या छ । ‘मैले वडा कार्यालयसँगै एउटा कोठा नै छुट्याएर टेबल राखिदिन्छु । तपाईं गाउँमा बस्नुपर्छ भनें,’ मानेभन्ज्याङ २ का वडाध्यक्ष उमेश कार्कीले भने, ‘तर उनले टेरेनन् । अहिले सम्म आफूखुशी कहाँ पुगेका छन् । मलाई नै थाहा छैन ।’प्राविधिकले पाउने तलब सुविधाका लागि महिनाभरि नै गाउँमा बसेको हाजिरीको सिफारिस वडा अध्यक्षले गर्नुपर्ने व्यवस्था छ । त्यस्तो हाजिरी भने वडाध्यक्षकै सिफारिस लिएर प्राविधिकहरू आउने गरेको पुर्नर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख युवराज खरेलले बताए । अहिले प्राविधिकहरू निर्वाचित पदाधिकारीकै मातहत भएकाले उनीहरूले नै कडाइ गर्नुपर्ने समेत खरेलले बताए ।


दसैंअघि किस्ता अव्यावहारिक

गत वर्ष पनि दसैंकै मुखमा अधिकांश बैंकले भूकम्प पीडितलाई पहिलो किस्ताबापत ५० हजार वितरण गरे । धेरैजसोले सोही रकमले दसैं मनाए । पछि फेरि ऋण खोजेर घर बनाउन सुरु गरे । सोही कारणले पनि कतिपय लाभग्राहीले समयमा घर निर्माण गर्न नसकेको मानेभन्ज्याङ गाउँपालिका प्रमुख मोतीराज राईले बताए । अहिले पनि दसैंको मुखमै अधिकांश बैंकले दोस्रो र तेस्रो किस्ता वितरण सुरु गरेका छन् । ‘यो साह्रै अव्यावहारिक हुने रहेछ,’ राईले भने, ‘सकिन्छ भने अहिलेलाई यो रकम रोकेर दसैंपछि मात्रै वितरण गर्नु राम्रो हुन्छ । नत्र फेरि पनि पुनर्निर्माण ढिलो हुन्छ ।’ चाडबाडको मुखमा अनुदान रकम दिनु अव्यावहारिक हुने अन्य निर्वाचित पदाधिकारीले समेत बताए ।


बैंकको ढिलाइले लाभग्राही मारमा

सुनकोसी गाउँपालिका ७, च्यानमकी सावित्रीमाया कटुवाल दोस्रो किस्ता रकम लिन चार पटक सदरमुकाम आइसकिन् । बैंकले नै बोलाएर उनी आउँछिन् । तर फेरि रित्तै हात फर्काउँछन् । पटकपटक धाएर दिक्कै भइसकिन् । ‘कि त नबोलाउनु । बोलाएपछि दिनुपर्ने रकम खुरुक्क दिनु नि,’ उनले भनिन्, ‘कति काम छोडेर आउनुपर्छ । आफूले पाउने रकम नि बेलामा पाइन्न ।’राष्ट्रिय वाणिज्यसहित ६ वटा बैंकले अनुदान रकम वितरण गर्छन् । तर अधिकांश लाभग्राहीले समयमा रकम पाउन नसकेको गुनासो गरेका छन् । बैंकले भने दसैंमा आर्थिक कारोबारको चाप उसै पनि बढ्ने र सोही समयमा भूकम्पपीडितको अनुदान समयमै दिन गाह्रो हुने जवाफ दिने गरेका छन् ।

‘बैंकले जिल्ला समन्वयबाट चेक पाएको सात दिनभित्र उपलब्ध गराउने भन्ने सम्झौता रहेछ,’ पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय प्रमुख युवराज खरेलले भने, ‘चेक लिएपछि प्रत्येक लाभग्राहीको नाममा जम्मा गरेर अनि फेरि पैसा दिन समय पनि लाग्ने रहेछ । अर्कोतिर एउटै जनशक्तिले फरकफरक काम गर्नुपर्ने भएकाले पनि बैंकको कारण लाभग्राहीको गुनासो बढेको हो ।’ जिल्लामा १८ हजार ७ सय ५२ घरले अनुदान सम्झौता गरी पहिलो किस्ता लगेका थिए । त्यसमध्ये ६ हजार ४ सय ६९ घर निर्माणको चरणमा छन् । हालसम्म १ हजार ६ सय ७० घर निर्माण भइसकेका छन् ।

Page 15
विदेश

ट्रम्पको भाषण कुकुर भुकाइ : उत्तर कोरिया

न्युयोर्क (बीबीसी)– उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघमा दिएको भाषण ‘कुकुरको भुकाइ’ भएको जनाएको छ । न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय परिसरमा संवाददतासँग उत्तर कोरियाली विदेशमन्त्री री योङ होले ‘कुकुरको भुकाइले कुनै अर्थ नराख्ने’ को संज्ञा दिए । बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनाल्ड ट्रम्पले ‘अमेरिका र उसका मित्र शक्तिलाई रक्षा गर्न उत्तर कोरियालाई ध्वस्त गर्ने’ चेतावनी दिएका थिए । उनले आफ्नो सम्बोधनको धेरै समय उत्तर कोरिया र इरानको आलोचनमा खर्चेका थिए । ट्रम्पले इरानलाई ‘भ्रष्ट तानाशाही’ को संज्ञा दिँदै आतंकवादलाई सहयोग र समर्थन नरोके कडा कदम चाल्ने चेतावनी दिएका थिए । ट्रम्पको भनाइको उत्तर कोरियाले पहिलोपल्ट आधिकारिक प्रतिक्रिया दिएको हो । ‘एउटा भनाइ छ, कुकुर भुक्दै गर्दा पनि परेड चलिरहन्छ ।’ रीले भने, ‘यदि ट्रम्पले हामीलाई कुकुरको भुकाइमार्फत अचम्मित पार्न खोजेका हुन् भने, उनले सपना देख्दै छन् ।’ राष्ट्रसंघले प्रतिबन्धहरू लगाएको भए पनि उत्तर कोरियाले त्यसलाई बेवास्ता गर्दै परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ । ट्रम्पले राष्ट्रसंघमा पहिलोपटक सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम जोङ उनलाई ‘रकेट म्यान’ को संज्ञा दिँदै ‘आत्महत्याको अभियानमा लागिरहेको’ बताएका थिए । उनको भनाइको जवाफ दिँदै रिले भने, ‘म उनका सहयोगीप्रति दु:ख व्यक्त गर्न चाहन्छु ।’

रीले शुक्रबार राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै छन् । दक्षिण कोरियाले दुई वर्षमा पहिलो पटक उत्तर कोरियामा मानवीय सहयोग पठाउन लागेको जनाएको छ । एकीकरण मन्त्रालयले उत्तर कोरियाली बालिबालिका, गर्भवती महिलालाई लक्षित गरी औषधि आपूर्तिलगायतका कार्यक्रमलाई सहयोग गर्न लागेको जनाएको छ । ८० लाख डलर बराबरको सहयोग उसले राष्ट्रसंघमार्फत गर्ने जनाएको हो । विज्ञहरूका अनुसार उत्तर कोरियाले पछिल्ला दिनमा निकै आश्चार्यजनक रूपमा परमाणु तथा लामो दूरीमा मार हान्ने क्षेप्यास्त्रको विकास गरेको छ । गत सेप्टेम्बर ३ मा उत्तर कोरियाल हालसम्मकै सबैभन्दा शक्तिशाली परमाणु परीक्षण गरेको थियो । महासभाको सुरुमा बोल्दै राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले उत्तर कोरियाको परमाणु कार्यक्रमको निन्दा गर्दै सुरक्षा परिषदमार्फत परमाणु हतियारबाट नि:शस्त्रीकरण गर्नुपर्ने जनाएका थिए ।


नाकाबन्दीले बालबालिका जोखिममा

उत्तर कोरियाले परमाणु तथा क्षेप्यास्त्र कार्यक्रम लक्षित अन्तर्राष्ट्रिय नाकाबन्दीले बालबालिकाको जीवनमाथि खतरा उत्पन्न भएको जनाएको छ । राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत हान ताई सङले राष्ट्रसंघीय बालबालिका अधिकार समितिमा बोल्दै नाकाबन्दीले पौष्टिक आहारको उत्पादन र पाठयपुस्तक प्रकाशनमा गम्भीर असर पुगेको जनाए । उनले भने, ‘राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले लगाएको नाकाबन्दीले बालबालिकाको अधिकारको संरक्षण र प्रवद्र्धनमा मात्र असर पुर्‍याएको छैन, यसले उनीहरूको बाँच्न पाउने अधिकार पनि हनन भएको छ ।’ संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सन् २००६ देखि विभिन्न ९ चरणका नाकबन्दी लगाइसकेको छ । गतसाता सुरक्षा परिषद्ले उत्तर कोरियामा तेल आपूर्ति र कपडा निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

तनावको शान्तिपूर्ण समाधान

चीनले कोरियाली प्रायद्वीपमा जारी तनावको शान्तिपूर्ण समाधान खोज्नुपर्ने दोहोर्‍याएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन कोरियाली तनाव कूटनीतिक वार्तामार्फत अन्त्य गर्नुपर्ने पक्षमा रहेको जनाएका हुन् । उनीहरूबीच अमेरिका र चीनको आपसी हित विषयमा समेत कुराकानी भएको जनाइएको छ ।

विदेश

कतार संकट अन्त्यको पहल

न्युयोर्क (एजेन्सी)– कतारका अमीर तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कतारमा जारी नाकाबन्दी अन्त्यका लागि पहल गरिदिन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका थानी र अमेरिकी राष्टप्रपति ट्रम्पबीच बिहीबार भेटवार्ता भएको हो । भेटमा ट्रम्पले कतार चाँडै समाधान हुने प्रतिबद्धता जनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । थानीले नाकाबन्दी अन्त्य गर्न अमेरिकाले मध्यस्थताको समेत आग्रह गरेका थिए । भेटमा ट्रम्पले आतंवादविरोधी अभियानमा सघाउन थानीलाई आग्रह गरेका थिए । दुईबीच आतंकवादविरुद्ध मिलेर काम गर्ने समझदारी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसको विज्ञप्तिमा उल्लेख छ । 

विदेश

ट्रम्प भेट््न किन चुके महरा ?

न्युयोर्कस्थित मिसनको हेलचेक्रयाइँ
- चन्द्रशेखर अधिकारी,दिनेशजंग शाह

न्युयोर्क (अमेरिका) – प्रधानमन्त्री शेरबहादुर देउवा संविधान दिवस मनाएर मात्र अमेरिका आउने भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राष्ट्रपति डोनाल्ड ट्रम्पको रात्रिभोजमा सहभागी हुने तय भएको थियो । महराले ट्रम्पसँग पनि संक्षिप्त छलफल गर्ने कार्यक्रम थियो । त्यहाँ कसरी प्रवेश गर्नेलगायतका सबै विषयमा ब्रिफिङसमेत भएको थियो । तर, लामो प्रयासका बाबजुद पनि उनले त्यो अवसर पाएनन् । महरा अन्य छलफल सकेपछि करिब आधा घण्टा न्युयोर्कस्थित नेपाली मिसनमा बसेर रात्रिभोजतर्फ लागेका थिए ।परराष्ट्र अधिकारीहरूका अनुसार महरा जाने कि नजाने भन्ने बहसपछि रात्रिभोजमा प्रवेश दिइन्छ भन्ने यकिन भएपछि गएका थिए । उनी राष्ट्रप्रमुखलाई गरिएको निम्तो र पासपोर्ट साथमा बोकेर त्यसतर्फ गएका थिए । तर उनलाई करिब आधा घण्टा सेक्युरिटीको अगाडि कुराएर परराष्ट्र अधिकारीले प्रयास गर्दा पनि प्रवेश नपाउने भएपछि फर्केका थिए । भद्र स्वभावका उपप्रधानमन्त्री महराले ‘नदिएपछि अब जोड नगरौं’ भन्दै फर्केको एक अधिकारीले बताए । न्युयोर्कस्थित मिसनले समयमा कूटनीतिक पत्राचार नगर्दा यो समस्या आएको हो । तर, यसलाई अमेरिकी सुरक्षाको विषय बनाएर सामान्य भन्दै उपप्रधानमन्त्रीलाई थामथुम पारिएको छ । जब कि यस्तो रिसेप्सनमा टोली नेता नहँुदा परराष्ट्र सचिव तथा राष्ट्रसंघका स्थायी प्रतिनिधिसमेत सहभागी हुने प्रचलन छ ।

टोलीको नेतृत्व गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले नआइपुगेकाले महरा जाँदा समस्या आएको भन्दै यो विषयलाई थामथुम पारिएको छ । उनीहरूले उल्टै अमेरिकी व्यवस्थापन नै यस्तै हो र ट्रम्प नै कार्यक्रममा ढिलो आएको भन्दै आफ्नो बचाउ गरेका थिए । अन्य मुलुकमा भए यस्तो गम्भीर त्रुटि हुँदा न्युयोर्क मिसनका कर्मचारी कारबाहीमा पर्थे । तर, नेपालमा राजनीतिक नेतृत्वको कमजोरीले कर्मचारीको भर पर्नुपर्ने अवस्थाले जे गर्दा पनि कूटनीतिक छुट हुने गरेको छ । ‘यही भयो, न्युयोर्कमा । न्युयोर्कका कर्मचारीको नेतृत्व आफंै अर्को व्यवस्था नभएसम्मका लागि रहेका कारण पनि यसलाई सामान्य मान्दै आएका छन्,’ एक अधिकारीले भने, ‘हामीले त पत्राचार गरेका थियौं । तर टोलीको नेतृत्व को हो, किन उपप्रधानमन्त्रीको सहभागिता हुने भन्ने सबै विषय मिलाउने काम स्थायी प्रतिनिधिको हो ।’

यसपटक ट्रम्पको रात्रिभोजमा नेपालीको उपस्थिति भएन नि भन्ने जिज्ञासामा स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले कान्तिपुरसँग भने, ‘यो विषयमा म पछि कुरा गर्छु । खास केही भएको होइन । यो विषय सामान्य हो । प्रेस वक्तव्यमा भूलबस भेटको कुरा परेको हो ।’ पहिलो प्रेस वक्तव्यमा भेट भयो भनेर आएको थियो । दोस्रो प्रेस नोटमा भेट भएको पंक्ति निकालेर पुन: पठाइएको थियो । अमेरिकाको भ्रमणमा टोली आउँदा अमेरिकास्थित राजदूतलाई बेखबर राख्ने, भर्खर खोलिएको महावाणिज्य दूतावासका प्रमुखलाई राजदूतभन्दा माथिल्लो हैसियत दिने प्रयास परराष्ट्र अधिकारीहरूले गरे, जसले गर्दा यस्ता त्रुटि सामान्य बन्दै गएका छन् । यो विषयलाई लिएर लामो बहस भइरहेको र यसको निचोडमा राजनीतिक नेतृत्व पुग्न सकेका छैनन् । ‘यसमा कुरा भइरहेका् छ, कुनै न कुनै निर्णय हुन्छ,’ एक अधिकारीले भने । केही कर्मचारीको जालोमा रहेको कूटनीति सञ्चालन र जथाभावीलाई रोक्ने प्रयास हुने प्रधानमन्त्री निकट एक अधिकारीले बताउँदै भने, ‘कूटनीति पनि सिन्डिकेटमा चलेको रहेछ । यो नेतृत्वले बुझिसकेको छ ।’

परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा राष्ट्रसंघ महाशाखा प्रमुख भरतराज पौड्यालले पनि खास के भएको भन्नेमा आफू जानकार नरहेको बताए । उनले यसबारे न्युयोर्क मिसनका साथीहरूसँग सोध्न आग्रह गरे । यस विषयमा प्रधानमन्त्रीसमेत जानकार रहेका र उनले आएलगत्तै ट्रम्पसँग भेट भयो भन्दै उपप्रधानमन्त्रीलाई सोधेका तर भेट नजुरेको जवाफ पाएका थिए । अनावश्यक छलफलमा समेत उपप्रधानमन्त्रीलाई सामेल गराएको भन्दै उनले अधिकारीहरूलाई कार्यतालिकाबारे पुनर्विचार गर्नसमेत भनेको उनी निकट अधिकारीले बताए ।


भारत र चीनका अधिकारीसँग छुट्टै भेट नहुने

बुधबार बिहान न्युयोर्क आइपुगेका प्रधानमन्त्री देउवाको कार्यतालिका खासै व्यस्त छैन । उनलाई भारत र चीनका दुवै विदेशमन्त्रीले भेट्ने समय मागेनन् । कृष्णबहादुर महरासँग भने भारतीय विदेशमन्त्रीको भेट सार्कको विदेशमन्त्री स्तरीय बैठकमा हुनेछ । तर छुट्टै छलफल भने तय भएको छैन । प्राय: विदेशमन्त्रीले नेपाली प्रधानमन्त्रीसँग भेटवार्ता गर्थे । तर, त्यो भेटघाट पनि जुरेन । देउवा बुधबार न्युयोर्क आएदेखि नै अमेरिकामा रहेका नेपालीलाई भेट दिन नै बढी व्यस्त रहे । जनसम्पर्क समितिका प्रतिनिधि, पुराना मित्रहरूसँगको भेटमा उनको बुधबार सकिएको छ । बिहीबार भने उनले दक्षिण एसियाली नेताहरू भेट्ने छन् । उनको कार्यतालिका बिहीबार व्यस्त नै छ । शुक्रबार भने खासै व्यस्त तालिका छैन ।
७२ औं महासभामा भाग लिन २१ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै आएका देउवाले महासभाका दौरानमा अफगानिस्तानका राष्ट्रपति असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासी लगायतसँग द्विपक्षीय भेटवार्ता बिहीबार अबेरसम्म गर्ने र शनिबार महासभामा सम्बोधन गरेर स्वेदश फर्कनेछन् । सम्बोधनपछि देउवाले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । कोलम्बिया विश्वविद्यालयमा आफ्नो धारणा राख्ने छन् ।

विदेश

प्रतिबन्धको माग

न्युयोर्क (बीबीसी)– म्यान्मारमा जारी हिंसापछि विस्थापित लाखौं रोहिंग्याले अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकारवादीको ध्यान केन्द्रित गरिरहेका बेला म्यान्मारमाथि प्रतिबन्ध लगाउनुपर्ने बहस सुरु भएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रमुख जिद राद अल हुसेनले म्यान्मारमाथि पनि उत्तर कोरियाजस्तै प्रतिबन्ध लगाउनुको विकल्प नभएको जनाएका छन् । उनले रोहिंग्या समुदायमाथि भइरहेको अमानवीय व्यवहारमा सरकार र सेना जिम्मेवार रहेको बताउँदै प्रतिबन्धको माग गरेका हुन् । हुसेनले रोहिंग्या विद्रोहीमाथि लगाइएको हिंस्रक गतिविधिको आरोपलाई बहाना मात्र भएको जनाए । उनले भने, ‘विगत ५५ वर्षदेखि एउटा समुदायविरुद्ध लगातार हिंसा भइरहेको छ । हामी विद्रोहीको गतिविधिको पक्षमा छैनौं तर सरकारी सेनाले गरेका कारबाही गलत छ ।’ उनले म्यान्मार सरकारसमक्ष रोहिंग्याविरुद्ध भइरहेको अत्याचारको छानविन गर्न विशेषज्ञलाई म्यान्मार आउने अनुमति दिनसमेत माग गरेका छन् ।

Page 16
स्थानीय निर्वाचन

३१ तहमा नेतृत्व टुंगो

- जिल्ला ब्युरो

महोत्तरीको जलेश्वर नगरपालिका २ मा विजयी भएपछि स्वतन्त्र उम्मेदवारको अबिर जात्रा । तस्बिर : रवीन्द्र उप्रेती/कान्तिपुर

प्रदेश २ को स्थानीय तहका आठ जिल्लामा भएको निर्वाचनमा बिहीबार बेलुकासम्म ३१ स्थानको निर्वाचन परिणाम आएको छ । कांग्रेसले १० स्थानमा विजय हासिल गरेको छ भने एमाले, माओवादी र राष्ट्रिय जनता पार्टीले पाँच/पाँच स्थान जितेका छन् । संघीय फोरम तीन स्थान प्राप्त गरी चौथो स्थानमा छ । फोरम लोकतान्त्रिकले दुई र नेपाली जनता दलले एक स्थान जितेका छन् । जारी मतगणनामा कांग्रेसले ३५ स्थानमा अग्रता लिएको छ । माओवादीले १८, राजपा १६, संघीय फोरम २२ र एमालेले १४ स्थानमा अग्रता लिएका छन् । २ स्थानमा स्वतन्त्र उम्मेदवार अगाडि छन् । लोकतान्त्रिक फोरम, नेपाली जनता दल र जनशक्तिले एक/एक स्थानमा अग्रता लिएका छन् । धनुषामा कांग्रेस नगराइन, धनुषाधाम, क्षिरेश्वरनाथ, कमला नगरमा अग्रस्थानमा छ । यस्तै संघीय समाजवादी फोरम नेपाल शहीदनगर र गणेशमान चारनाथ नगरपालिका र लक्ष्मीनिया गापामा अघि देखिएको छ । एमाले मिथिला र मिथिला विहारी नगरपालिकामा अगाडि छ । राजपाले जनकपुर उपमहानगरपालिकामा अग्रता बनाएको छ । माओवादी केन्द्र सबैला र विदेह नगरपालिकामा अग्रस्थनमा छ ।सिरहामा ७ स्थानको परिणाम सार्वजनिक भएको छ । महोत्तरीमा राजपाले ६, कांग्रेसले ४, माओवादी केन्द्रले २, संघीय समाजवादीले २, एमालेले १ स्थानमा अग्रता कायम गरेका छन् । माओवादी केन्द्रले एक नगरपालिकासहित तीन स्थानमा विजय हासिल गरेको छ । संघीय समाजवादी फोरम दुई गाउँपालिका र कांग्रेस एक गाउँपालिकामा विजयी भएका छन । सिरहामा कांग्रेस २, माओवादी केन्द्र ३, संघीय समाजवादी फोरम २, एमाले २ र राजपा १ स्थानीय तहमा अगाडि छन् ।सप्तरीका ४ वटा स्थानीय तहको परिणाम आएको छ । तीमध्ये २ स्थानमा कांग्रेस विजयी भएको छ भने एउटामा एमाले र १ स्थानमा राजपा नेपालका उम्मेदवार विजयी भएका छन् । सप्तरीका ६ स्थानमा संघीय समाजवादी फोरम अग्रस्थानमा छ । चार स्थानमा कांग्रेसको अग्रता छ भने राजपा र नयाँ शक्ति १(१ स्थानमा अग्रस्थानमा छन् ।

धनुषामा बिहीबार अबेरसम्म ६ स्थानको अन्तिम परिणाम घोषणा भएको छ । कांग्रेस तीन स्थानमा विजयी भएको छ । एमालेले दुई र राजपाले एक तहमा जितेका छन् । अन्य तहमा जारी मतगणनामा पनि कांग्रेसको अग्रता कायमै छ । कांग्रेसले जनकनन्दनी, औरही र धनौजी गाउँपालिकामा विजय हासिल गरेको हो । एमालेले बटेश्वर तथा मुखियापटी मुसरनिया गाउँपालिका जितेको छ भने राष्ट्रिय जनता पार्टीले हंसपुर नगरपालिमा विजय प्राप्त गरेको छ ।जनकनन्दनी गापामा कांग्रेसका अब्दुल वारिख शेख २ हजार ७ सय १७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्दी संघीय समाजवादी फोरमका विपिनदेव यादवले १ हजार ५ सय ४७ मत प्राप्त गरे । उपप्रमुखमा काँग्रेसकै भारती कार्की ३ हजार ५१ मत प्राप्त गरिन. ।औरही गाउँपालिका प्रमुखमा कांग्रेसका ब्रह्मदेव यादव र कांग्रेसकै मीरादेवी सहनी उपप्रमुखमा विजयी भए । यादवले २ हजार ५ सय ६९ मत प्राप्त गरेका थिए भन्ने उनका निकटतम् प्रतिद्वन्द्वी उमाशंकर साहले १ हजार ९ सय ४ मत प्राप्त गरेका थिए ।

यसैगरी धनौजी गाउँपालिका प्रमुखमा कांग्रेसका बद्रीनारायण सिंह र उपप्रमुखमा कांग्रेसकै रामवतीदेवी मण्डल विजयी भए । सिंहले २ हजार ४ सय २० मत ल्याए भने निकटम् प्रतिद्वन्द्वी राजपाका जीवेन्द्र झाको १ हजार ९ सय ९८ मत छ । त्यसै गरी मण्डलले २ हजार ३ सय २८ मत ल्याएकी छन् । बटेश्वर गापा प्रमुखमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा एमालेकै प्रमिलादेवी विजयी भए । राउतले २ हजार ३ सय ७७ मत पाए भने निकटतम् प्रतिद्वन्दी नेकाका रामअशीष महतोले २ हजार ३सय ३ मत ल्याए । मुखियापटी मुसरनिया गापा प्रमुखमा एमालेका मनोजकुमार यादव र उपप्रमुखमा एमालेकै मीरादेवी महतो विजयी भए । यादवले ३ हजार ५ सय ४० मत ल्याउँदा निकटतम् प्रतिद्वन्दी नेकाका रामबाबु यादवले १ हजार ९ सय ९२ मत मात्र पाए । जिल्लाका १८ स्थानीय तहमध्ये ११ वटामा गणना जारी छ । जनकपुर उपमहानगरमा राजपाका लालकिशोर साहले कांग्रेसका मनोजकुमार साहसँग अग्रता फराकिलो बनाइरहेका छन् ।


६ मतको अन्तरले विजयी

सिरहाका १७ स्थानीय तहमध्ये माओवादी केन्द्रले एक नगरपालिकासहित तीन स्थानमा विजय हासिल गरेको छ । संघीय समाजवादी फोरम दुई गाउँपालिका र कांग्रेस एक गाउँपालिकामा विजयी भएको छ । कर्जन्हामा माओवादी केन्द्रबाट मेयर उम्मेदवार गंगा पासमान र उपमेयरमा माओवादी केन्द्रका ज्ञान कुमारी श्रेष्ठ विजयी भए । उक्त पाटीबाटै अर्नामा गाउँपालिका प्रमुखमा ठकु महतो कोइरी २ हजार ४ सय ३६ मत ल्याई विजयी भए । उपप्रमुखमा माओवादीकै सियावती मुखिया २ हजार २ सय ९९ मत ल्याई विजयी भइन् ।औरही गाउँपालिका प्रमुखमा माओवादीका सिद्धार्थ यादवले ६ मतको झिनो अन्तरले जिते । उनले २ हजार ६ सय ५८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शिवजी यादवले २ हजार ६ सय ५२ मत पाए । उपप्रमुखमा संघीय समाजवादी फोरमकी सीता कुमारीले २ हजार ६ सय ३२ मत ल्याई जित हात पारिन् । कांग्रेसबाट टिकट नपाएपछि सिद्धार्थ माओवादीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । यसअघि उनी तरुण दल सिरहाका अध्यक्ष थिए ।

विष्णुपुर गाउँपालिका प्रमुखमा १ हजार ९ सय ४ मत ल्याई संघीय समाजवादी फोरमका जागेश्वर यादव विजयी भए । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सत्यदेव यादवले १ हजार २ सय ५४ मत मात्र पाए । उपप्रमुखमा संघीय फोरमकै अरहुलियादेवी सिंह २ हजार ७ मत ल्याई विजयी भइन् । कांग्रेसले नवराजपुर गाउँपालिकाबाट जिल्लामा जितको खाता खोलेको छ । प्रमुखमा विश्वमोहन यादव २ हजार ३ सय ८३ र उपप्रमुखमा शोभाकुमारी यादव २ हजार ३ सय ७७ मत ल्याई विजयी भए । निकटतम प्रतिद्वन्द्वी फोरमका शिव उदगार यादवले २१७४ र उपप्रमुखमा एमालेकी संगिता कुमारी यादवले १ हजार ९ सय ८८ मत पाएका थिए ।


महोत्तरीमा राजपा

महोत्तरीको महोत्तरी गाउँपालिकामा राजपाका राजपाका सुनील राय विजयी भएका छन् । उनले २७५१ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दिलीपकुमार पाण्डेले १४८२ मत ल्याए । उपप्रमुखमा राजपाकै सीतादेवी साह विजयी बनिन् । उनले २६१९ मत ल्याइन् । जिल्लामा राजपाले ५, कांग्रेसले ४, माओवादी केन्द्रले २, संघीय समाजवादीले २, एमालेले १ स्थानमा अग्रता कायम गरेका छन् ।


मतगणना स्थगित

महोत्तरीका पिपरा र औरहीको मत परिणाममा विवाद भएपछि दुवै स्थानको गणना अपराह्न ५ बजेदेखि स्थगित छ । पिपरास्थित निर्वाचन अधिकृतको कार्यालयले अघिल्लो दिनको मत परिणामभन्दा फरक घोषणा गरिसकेपछि विवाद बढेको हो ।मतगणना स्थलबाट कांग्रेस कार्यकर्ता वैधनाथ चौधरीले दिएको जानकारी अनुसार वडा नं २ को अध्यक्षमा एमाले र बाँकी ४ सदस्यमा कांग्रेसले जितेको बुधबार अपराह्न ४ बजेतिर निर्वाचन कार्यालयलले घोषणा गरेको थियो । तर, बिहीबार अपराह्न साढे ४ बजे मत परिणाम सच्याउँदै निर्वाचन कर्मचारीले कांग्रेसका वडा सदस्य सुरेश यादवको साटो एमालेका अंगद मण्डललाई विजयी घोषणा गरेपछि विरोध भएको चौधरीले जनाए । निर्वाचन कर्मचारीले मतगणनाको योगफलमा त्रुटि फेला परेपछि परिणाम सच्याउनु परेको बताएका छन् । औरहीको वडा नं ६ मा कांग्रेसले वडाध्यक्षसहित सबै सदस्य जितेपछि निर्वाचन कर्मचारीले प्राप्त मतभन्दा १ सय ३० मत घटाएर परिणाम घोषणा गरेको भन्दै कांग्रेस समर्थक र निर्वाचन अधिकृतको कार्यालयबीच विवाद बढदा साँझदेखि गणना अवरुद्ध छ ।

स्थानीय निर्वाचन

प्रमुख दल नै अगाडि

- भरतपुर ब्यूरो

सर्लाहीमा परिणाम सार्वजनिक हुन बाँकी १५ मध्ये अधिकांस तहमा मुख्य दलकै उम्मेदवारले अग्रता कायम गरिरहेका छन । माओवादी केन्द्र बिहीबार
सांझसम्म ५ तहमा अघि छ । राजपा ४, एमाले ३ र संघिय समाजवादी, काँग्रेस र स्वतन्त्रले १/१ स्थानमा अग्रता लिएका छन् ।वागमती, बरहथवा, हरिपुर नगरपालिका, चक्रघट्टा र बसवरिया गाउँपालिकामा माओबादीका उमेदवार अगाडि छन् । दोस्रो स्थानमा राजपाले गोडैता, बलरा नगरपालिका, चन्द्रनगर र ब्रम्हपुरी गाउँपालिकामा अग्रता लिएको छ । राजमार्ग क्षेत्रका हरिवन, लालबन्दी र इश्वरपुर नगरपालिकामा एमाले अग्रस्थानमा छ ।
कविलासी नगरपालिकामा संघीय समाजबादी, हरिपुर्वा नगरपालिकामा कांग्रेस र मलंगवा नगरपालिकामा स्वतन्त्र उम्मेदवार अग्रस्थानमा छन् । सदरमुकाम मलंगवामा पूर्व मेयर नागेन्द्रप्रसाद यादवले काँग्रेसलाई पछि पारेका छन् । बाराका १६ स्थानीय तहमध्ये २ को परिणाम सार्वजनिक भएको छ । २ वटामा विवादले गणना स्थगित छ । १२ वटामा गणना जारी छ । बिहीवार सांझसम्म काँग्रेसले धेरै तहमा अग्रता लिएको थियो । त्यसपछि एमाले र संघीय फोरमको अग्रता छ । कांग्रेसले एक तहमा जीत हात पारेको छ भने निजगढ, महागढीमाई, सिम्रौनगढ नगरपालिका, बारागढी, फेटा र सुवर्ण गाउँपालिकामा अग्रता लिइरहेको छ । एमालेले जितपुर सिमरा र कलैया उपमहानगर, कोल्हवी नगर र महेन्द्र आदर्श गाउँपालिका गरी ४ वटामा अग्रता लिएको छ । प्रसौनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । बिश्रामपुरमा स्वतन्त्रलाई उछिन्दै नेपाल लोकतान्त्रिक फोरम अगाडि बढेको छ । पचरौता नगरमा राजपालाई थोरै मतान्तरमा एमालेले पछ्याइरहेको छ । परवानीपुरमा राजपा अग्रस्थानमा छ ।


रौतहटमा एमाले पछाडि

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमाार नेपालको गृहजिल्ला रौतहटका एउटै स्थानीय तहमा बिहीबार सांझ ८ बजेसम्म उसको अग्रता छैन । नेपालकै निर्वाचन क्षेत्र रहेको सदरमुकाम गौर नगरपालिकामा राजपा अगाडि छ । जिल्लाका १६ नगरपालिका र २ गाउँपालिका मध्ये मौलापुर, ईशनाथ र परोहा नगरपालिकाको गणना सकिएको छ । गौरमा राजपाका अजय गुप्ता अग्रस्थानमा छन् । गुप्ता एमाले नेता नेपालसित २०७० को सविधानसभा निर्वाचनमा झिनो मतले पराजित भएका थिए । चन्द्रपुर नगरपालिकामा काँग्रेसका रामचन्द्र चौधरीले अग्रता लिइरहेका छन । गरुडा नगरपालिकामा कांग्रेसकै अग्रता छ । त्यहाँ वडाअध्यक्षको मत परिणाम फरक परेको भन्दै माओबादीले बिवाद निकाले पछि बुधवार बिहान ११ बजे देखी गणना रोकिएको छ । कटहरियामा संघियसमाजवादी फोरमका जवाहरलाल प्रसाद यादव अगाडि छन । गढीमाई नगरपालिकामा राजपाका मो. अब्दुल कलाम अजाद, यमुना माई गाउँपालिकामा माओबादीका श्रीप्रसाद मुखिया बिनले अगाडि छन । त्यस्तै राजदेवी नपामा कांग्रेसका धीरेन्द्रकुमार सिहले अग्रता लिइरहेका छन् । राजपुर नगरपालिकामा कांग्रेसका मोहम्मद सकिल अख्तरको अग्रता छ । देवाहीगोनाहीमा संघिय समाजवादी फोरमका धर्मेन्द्र प्रसाद पटेलको अग्रता छ । दुर्गाभगवती गाउँपालिकामा कांग्रेसका अरूण साहको अग्रता छ । बौधीमाई नगरपालिकामा संघिय समाजवादी फोरमका राजीवरञ्जन यादवले अग्रता लिएका छन् । माधोनारायण नगरपालिकामा संघीय समाजबादी फोरमको अग्रता छ । गुजरा नगरपालिकामा माओबादीका पलट चौधरीले अग्रता लिएका छन् । फतुवा विजयपुरमा कांग्रेसका गोपालराय यादवको अग्रता छ । बृन्दा बन नगरपालिका कांग्रेसका रामस्नेही राय यादवले अग्रता लिएका छन् ।


महानगरमा कांग्रेस अघि

पर्साको वीरगंज महानगरको पछिल्लो मत परिणाम अनुसार काग्रेसका मेयर पदका उम्मेदवार अजयकुमार द्विवेदीले अग्रता लिएका छन् । उपमेयरमा पनि कांग्रेसकै शान्ति कार्की अगाडि छन् । राजपाका राजेशमान सिंहले द्विवेदीलाई पछ्याई रहेका छन् ।
बिहीबार साँझसम्म महानगरका १, २, ३, ४, ५, ६, २८, २९, ३१ र ३२ वडाको गरी १६ हजार ३ सय १४ मत गणना भएको छ । वडा नं ३० मा एमालेका अमानत मिया ४ सय ६६ मत सहित वडाध्यक्ष पदमा विजयी भएका छन् ।

स्थानीय निर्वाचन

नेतृत्वमा पुरानै अनुहार

- कान्तिपुर संवाददाता

राजविराज (कास)– सप्तरीका अन्तिम परिणाम सार्वजनिक भएका ४ वटा स्थानीय तहमध्ये दुइटामा कांग्रेस विजयी भएको छ । राजपाले दुई र एमालेले एक स्थानमा जितेका छन् । यीमध्ये चारै विजयीले यसअघि पनि स्थानीय निकाय नेतृत्व गरिसकेका छन् । बिष्णपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लिलाम्बर यादव २ हजार १ सय ५५ मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मुनीलाल खंगले १ हजार ६ सय ५९ मत पाए । लीलाम्बर साबिकको इटहरी विष्णुपुर गाविसका अध्यक्ष भइसकेका व्यक्ति हुन् । उपाध्यक्षमा काग्रसकै जंजिरादेवी यादवले १ हजार ९ सय ९६ मत ल्याइन् । बेल्ही चपेना गाउँपालिकाको अध्यक्षमा कांग्रेसका परमानन्द यादव विजयी भएका छन् । साबिकको नर्घो गाविसका अध्यक्ष भएका उनले ३ हजार ५ सय ४५ मत पाए । निकटतम प्रतिद्वन्द्वी एमालेका ओमप्रकाश मण्डलले २ हजार ४ सय ३३ मत मात्र ल्याउन सके । उपप्रमुखमा कांग्रसकी पुष्पमालाकुमारी मण्डल ३ हजार ४ सय ५५ मत ल्याएर विजयी भइन् । एमालेका उत्तम गौतम ३ हजार २९ मत ल्याई सप्तकोसी नगरपालिकाको प्रमुख चुनिएका छन् । उनी साबिकको फतेपुर गाबिसका उपाध्यक्ष थिए । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले १ हजार ८ सय ८३ मत पाए । उपप्रमुखमा एमालेकै आशा चौधरीले ३ हजार २ सय २७ मत सहित विजयी भइन् ।
डाकनेश्वरी नगरपालिकाको प्रमुखमा राजपा नेपालका शिवनारायण साह चुनिए । उनी पनि साविकको पथ्थरगाढा गाबिसका अध्यक्ष भइसकेका व्यक्ति हुन् । साहले ३ हजार ३९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नारायण यादवले २ हजार १ सय ४४ मत मात्र पाए । उपप्रमुखमा राजपाकै इन्दुदेवी यादव २ हजार ९ सय ४४ मत ल्याई विजयी भइन् । जिल्लाका गणना टुंगिन बाँकी तहमध्ये ६ स्थानमा संघीय समाजवादी फोरम अग्रस्थानमा छ । चार स्थानमा कांग्रेसको अग्रता छ भने नयाँ शक्ति १ स्थानमा अगाडि छन् । हनुमाननगर कंकालिनी, बोदेवरसाइन र शम्भुनाथ नगरपालिका तथा तिरहुत, महदेवा र बलान बिहुल गाउपालिकामा फोरम अघि छ । कंचनरूप,खडग र सुरुंगा नगरपालिका तथा अग्नीसाइर कृष्णा सवरण गाउपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ । छिन्नमस्ता गाउँपालिकामा नया शक्तीले अग्रता लिएको छ ।


मतदान सम्पन्न

स्थानीय तह निर्वाचनअन्तर्गत सप्तरी सदरमुकाम राजविराज नगरपालिका–१५ मा बिहीबार मतदान भएको छ । बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदानमा ७८ दशमलव ८३ प्रतिशत मत खसेको छ । १६ सय ३९ मतदाता रहेको वडामा १२ सय ९२ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख महेशकुमार ठाकुरले जनाए । राजपा नेपालका तर्फबाट वडाध्यक्ष उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि त्यहाँ असोज २ गतेलाई पूर्वनिर्धारित चुनाव स्थगित भएको थियो । मतगणना बिहीबार रातिदेखि नै थाल्ने निर्वाचन कार्यालयको तयारी छ ।


स्वतन्त्र भएर वडाध्यक्ष जिते मुसहर

स्वतन्त्रबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका मुसहर समुदायका बहादुर सदा मुसहर बिजयी भएका छन् । इटहरी बिष्णुपुर गाउपालिका ६ को वडाध्यक्षमा विजयी भएका हुन् । उनले २ सय २९ मत पाए । उक्त वडामा महिला सदस्य र दलित महिला सदस्यमा संघीय समाजवादी फोरम नेपाल तथा दुई सदस्य मध्ये १ मा राजपा र १ मा माओवादी केन्द्र विजयी भएको छ । गाउपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने कांग्रेसले जित निकालेको छ ।


वडा सदस्यको मृत्यु

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ बाट निर्वाचित दलित महिला सदस्यको ह्दयघातका कारण निधन भएको छ । जसोदेवी खत्वेको बिहीबार बिहान मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । राजपा नेपालका तर्फबाट उम्मेदवार बनेकी खत्वेले गाउँमा बुधबार बेलुका आफ्ना मतदातामाझ विजयको खुसी साटेकी थिइन् । गाउँटोलमा घुम्दै खुसी साटेकी उनको बिहीबार बिहान निधन भएको हो ।

Page 17
देश

सिसा आयातबाट ८० करोड बाहिरियो

- कान्तिपुर संवाददाता

पर्सा– झ्याल–ढोका तथा विभिन्न फर्निचरमा लगाइने सिसा स्वदेशमा उत्पादन नहुँदा बर्सेनि ठूलो रकम विदेशिने गरेको पाइएको छ । सिर्सिया सुक्खा बन्दरगाह हुँदै भारत तथा तेस्रो मुलुकबाट गत वर्ष आयातित वस्तुको तथ्यांकले यस्तो देखाएको हो । बन्दरगाहस्थित भन्सार कार्यालयका अनुसार गत आवमा यो नाकाबाट ८० करोड रुपैयाँ बराबरका सिसाजन्य वस्तु आयात भएका छन् । भारतबाट २३ करोड ८८ लाख ९ हजार रुपैयाँ बराबरको ६५ लाख ९९ हजार ८ किलो बोतल भित्रिएका छन् । कार्यालयका अधिकृत गणेश पौडेलले सिसीबोतल आयातमा मूल्यको १५ प्रतिशत भन्सार शुल्क र त्यसमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । यहाँका ठूला मदिरा उद्योगले यी वस्तु आयात गर्छन् । उद्योगले एकमुष्ट रूपमा एउटा रेल्वे र्‍याकमै सिसीबोतल ल्याउँछन् । एक र्‍याकमा ९० कन्टेनर हुन्छन् । अघिल्लो आवमा यो नाकाबाट भित्रिएका सिसाजन्य सामग्रीको परिमाण झन् बढी थियो । ४२ करोड १८ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख ६ हजार ५ सय १२ किलो सिसीबोतल आयात भएको थियो ।
गत आवमा यो नाकाबाट २० लाख २९ हजार ९ सय ५४ वर्गमिटर सिसा आयात भएको छ । अघिल्लो आवमा यो परिमाण १८ लाख ४४ हजार ३ सय ६३ वर्गमिटर थियो । सिसा प्राय: चीनबाट र थोरै परिमाणमा मलेसियाबाट पनि आयात हुन्छ । सिसा आयात गर्दा मूल्यको ३० प्रतिशत भन्सार शुल्क, ५ प्रतिशत अन्त:शुल्क र दुवैलाई जोडा हुने रकममा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । रेलबाट सिसा र सिसीबोतल ल्याउँदा टुटफुट हुने सम्भावना कम हुन्छ । विशेषगरी सिसा नाजुक हुने भएकाले आयातकर्ताले ट्रक लरीभन्दा रेलबाटै यसको आयात गर्न रुचाउँछन् । तेस्रो मुलुकबाट कोलकाता बन्दरगाह आइपुग्ने सिसा त्यहाँबाट सोझै सिर्सिया सुक्खा बन्दरगाह आउने रेलमा लोड गरी ल्याइन्छ । रेलमा तुलनात्मक रूपमा कम हल्लिने र उफ्रिने गर्दा सिसा टुटफुट र नोक्सानी कम हुन्छ ।

देश

रकम फुत्काउन त्रिशूलीमा ट्रक

हेटौंडा–३ का ट्रकधनी सन्तोष खड्काको आर्थिक अवस्था कमजोर भएपछि उनले सन्तोष खत्रीमार्फत योजना बनाएको खुल्यो
- प्रताप विष्ट

हेटौंडा– बिमाबापतको रकम र ट्रकमा लोड गरिएको मदिराको रकम हत्याउने योजनाका साथ चालक र तिनका सहयोगीलगायतले गाडी त्रिशूलीमा खसालेको खुलेको छ । ना५ख ७२९७ नम्बरको ट्रक गत भदौ २६ मा चितवनको इच्छाकामना गाउँपालिकास्थित जलबिरेबाट नदीमा खसालिएको थियो । ट्रकमा नवलपरासीको भेडाबारीबाट १ हजार ४ सय कार्टुन बियर ल्याइएको थियो । १ हजार २ सय काटुर्न अर्को ट्रकमा लोड गरेर योजनाबद्ध तरिकाले गाडी त्रिशूलीमा खसालिएको प्रहरीले जनायो ।ट्रकमा २ सय कार्टुन मात्र बियर राखेर खसालिएको थियो । जिल्ला प्रहरीले मनहरी–५ घर भएका ट्रक चालक उज्ज्वल कँडेल, नक्कली धनी हेटौंडा–११ का निर्मल सुवेदी, योजनाकार सन्तोष खत्री र चितवनबाट ल्याएको बियर लुकाएर राख्ने पदमपोखरीका मणि लामालाई पक्राउ गरेको छ । चालक कँडेल र योजनाकार खत्री ५ दिनअघि जलबिरे पुगेर उक्त स्थानबाट ट्रक खसालेमा पत्ता नलाग्ने ठम्याएर फर्केको प्रहरीले जनायो । पछि चालकले त्यही स्थानबाट ट्रक खसालिदिए । सुनियोजित भएकाले चालकलाई चोटपटक लागेन । उनले नारायणगढ फर्केर चक्कुले खुट्टामा घाउ बनाएर अस्पताल भर्ना भए । दुर्घटना गराएको दिन नक्कली धनी सुवेदीले इलाका प्रहरी मुग्लिङमा बियर लोड गरेको ट्रक त्रिशूलीमा खसेकाले खोजिदिन र बिमा रकमको दाबीका लागि सहयोग गरिदिन निवेदन दिएको प्रहरीले जनाएको छ ।

मुग्लिङको प्रहरी टोलीले तत्काल घटनास्थल पुगेर निरीक्षण गर्‍यो । घटनालाई सामान्य दुर्घटनाका रूपमा लियो । तर, एकैपटक ठूलो परिमाणको बियर रातारात हेटौंडामा अनलोड भएपछि प्रहरीलाई शंका लाग्यो । निरीक्षक मधु थापाको नेतृत्वमा अनुसन्धान थालियो । ‘प्रारम्भिक चरणमै बिमा र बियरको रकम कुम्ल्याउने योजनाबाट ट्रक त्रिशूलीमा खसालेको रहस्य खुल्यो,’ जिल्ला प्रहरी प्रमुख एसपी विकासराज खनालले भने । हेटौंडा–३ का ट्रक धनी सन्तोष खड्काको आर्थिक अवस्था कमजोर भएपछि उनले सन्तोष खत्रीमार्फत योजना बनाएको खुलेको छ । ट्रकमा ४३ लाख बराबरको बियर लोड गर्ने, चितवनमा ल्याएर अर्को ट्रकमा हालेर हेटांैडामा लुकाउने र दुई सय कार्टुन बियरसहित ट्रकलाई जलबिरेबाट खसाल्ने योजनाका साथ काम भएको प्रहरीले जनाएको छ ।

‘ट्रकको बिमा रकम ३० लाख पनि आउने र बियर बिक्री गरेर करिब ४० लाख आम्दानी हुने योजनाका साथ उनीहरूले ट्रक जलविरेमा खसालिदिएका हुन्,’ एसपी खनालले भने, ‘उनीहरूको षड्यन्त्र सफल हुन सकेन ।’मुख्य योजनाकार मानिएका ट्रकधनी खड्का फरार छन् । प्रहरीका अनुसार उनले योजना सफल बनाउन हेटौंडा–११ का निर्मल सुवेदीलाई नक्कली साहू बनाएका थिए । नारायणी यातायात व्यवसायी संघ हेटौंडामा गएर खडकाले ट्रक सुवेदीको नाममा गरिदिएका थिए । नक्कली साहू बनेबापत खडकाले सुवेदीलाई ४ लाख रुपैयाँ दिने सहमति गरेको पनि खुलेको छ ।किस्ता तिर्न नसकेर घरमा थन्केको ट्रक चलाउन चालक कँडेल फेला परे । उक्त योजना सफल भएमा चालकलाई ६ लाख रुपैयाँ दिने सहमति भएको खुल्यो । ६ लाख रुपैयाँ पाउने लोभमा परेर बियर चितवनमा अनलोड गरेर जलबिरेमा लगेर ट्रक खसालिदिएको चालक कँडेलले बताए । प्रहरीले हेटौंडा पदमपोखरीका दुईवटा घरमा लुकाएर राखेको ९ सय ६० काटुर्न बियर बरामद गरेको छ । बियर राख्ने घरधनी मणि लामा पनि पक्राउ परेका छन् । अर्का सहयोगी बुद्ध लामा भने फरार छन् । प्रहरीले ट्रकधनी खडका र बुद्धको खोजी गरिरहेको जनाएको छ ।

देश

‘कर्मचारी खटाउन ट्ेरड युनियन बाधक’

- कान्तिपुर संवाददाता

मोरङ (कास)– सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले स्थानीय तहमा कर्मचारी खटाउन कर्मचारीको आधिकारिक ट्रेड युनियन बाधक बनेको बताएका छन् ।विराटनगरमा बिहीबार पत्रकारसँगको कुराकानीमा मन्त्री बस्नेतले आधिकारिक ट्ेरड युनियन र अन्य ट्रेड युनियनले सरकारका काममा बाधा खडा गरेकाले ट्रेड युनियनरहित कर्मचारी प्रशासनका लागि सोच्न बाध्य भएको बताएका हुन् ।उनले पहिलो चरणमा ९ हजार, दोस्रो चरणमा १ हजार ४ सय ८४ कर्मचारी स्थानीय तहमा खटाइसकिएको र बाँकी ५ हजार कर्मचारी व्यवस्थापनको तयारी भइरहेको बताए । ‘अशक्त, अपाङ्ग, दीर्घरोगी र विशिष्ट समस्या भएका महिला कर्मचारी बाहेकलाई आ–
आफ्ना खटाइएका स्थानीय तहमा जानुको विकल्प छैन,’ उनले भने, ‘स्थानीय तहमा कर्मचारी जान ट्रेड युनियन बाधक भए ट्रेड युनियनरहित कर्मचारी ऐन सरकारले ल्याउँछ ।’राष्ट्रसेवक कर्मचारीले आ–आफ्नो जिम्मेबारीको काम तोकिएको ठाउँमा गएर गर्दै सरकारलाई सहयोग गर्नु नैतिक दायित्व भएको उनको भनाइ थियो ।

Page 18
देश

दसैंका यात्रुलाई पहिरोको तगारो

- तुलाराम पाण्डे,डम्बरसिं राई

कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालीकोटको गगने खोलामा गएको पहिरो । पहिरोले ४ दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध छ । तस्बिर : तुलाराम/कान्तिपुर

कालिकोट/खोटाङ – सुर्खेत– जुम्ला सडकखण्डको गगनेखोलामा फेरि पहिरो गएको छ । सडक सुचारु भएको दुई साता नबित्दै पुन: पहिरो गएपछि दसंैका यात्रु अलपत्र परेका छन् ।काठमाडांै, सुर्खेत नेपालगन्ज तथा भारतबाट घर फर्किंदै गरेका सयौं यात्रु अलपत्र छन् । कालिकोट, जुम्ला, मुगु र बाजुराको साप्पाटा क्षेत्रका बासिन्दा सामान बोकेर पैदल हिँड्न बाध्य छन् । कर्णाली राजमार्ग भएर दैनिक दुई/तीन सय यात्रु घर फर्किरहेकोमा अहिले पहिरोले अलपत्र परेको जिल्ला प्रहरी प्रमुख डीएसपी सुवास बोहोराले बताए । उनले यात्रु लाई घर पठाउन प्रहरीले सहयोग गरिरहेको जानकारी दिए । डोजर लगाए पनि पहिरो पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताए । ‘मंगलबार रातिदेखि सडक अवरुद्ध छ,’ उनले भने ‘धेरै माथिबाट ठूल ठूला ढुंगासहित सुख्खा पहिरो बगिरहेकोले काम गर्न कठिनाइ छ ।’ पहिरो झर्न रोकिए डोजरले दुई/तीन घण्टामै पन्छाउन सक्ने अवस्था छ । पानी परिरहेकाले त्यो सम्भव छैन । यही पहिरोमा परेर एक महिनाअघि कालिकोटमा व्यापार गरिरहेका दैलेखका जगतबहादुर शाहीको ज्यान गएको थियो ।पाँच सय मिटरमाथिबाट आएको पहिरोले ३० मिटर सडक पुरेको छ । पहिरो खसेको ठाउँबाट पैदल आवतजावत गर्न पनि कठिनाइ छ । वरिपरि भीर भएकाले एक घण्टा उकालो छातीगाउँ भएर आवतजावत गर्नुपर्ने बाध्यता छ । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि एक सयभन्दा बढी जिप, बस, मिनी टाटा, ट्रयाक्टर ठाउँ–ठाउँमा अलपत्र परेका छन् । सुर्खेत र नेपालगन्जबाट गएका लोड गाडी दैखोला नजिकै रोकिएका छन् । सुर्खेतको बांगेसिमलबाट सुरु भएर जुम्ला खलंगासम्म कुल २ सय ३३ किमि लम्बाइको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षामा पहिरोले ठाउँ–ठाउँमा अवरुद्ध हुने गरेको छ ।


हलेसी–दिक्तेल पनि अवरुद्ध

हिलाम्य र खाल्डाखुल्डी परेपछि मध्यपहाडी लोकमार्गअन्तरर्गत खोटाङको हुर्लुङ सडक खण्ड पनि अवरुद्ध छ । निर्माण कम्पनीले कामै नगरी अलपत्र छाड्दा सडकमा हिलो जम्नुका साथै खाल्डाखुल्डी परेको छ । दसैंमा घर फर्किने यात्रुको बिचल्ली छ । निर्माण कम्पनीले हुर्लुङ क्षेत्रमा काम अलपत्र छाडेको हो । हलेसीदेखि दिक्तेलसम्म तीन प्याकेजमा काम भएको थियो । स्थानीयले हुर्लुङ क्षेत्रमा निर्माण गरिएको सडक गुणस्तरहीन भएको आरोपसमेत लगाएका छन् । निर्माणाधीन सडकको नाली, टेबा–पर्खाल र ग्राभेलमा प्रयोग गरिएका सामग्री गुणस्तरहीन भएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुले बताए । परीक्षणका क्रममा ग्राबेलका लागि प्रयोग गरिएका ढुंगासमेत गुणस्तरीय नभएको प्रमाणित भए पनि त्यसैलाई प्रयोग गरिएको स्थानीयले बताए । यस बाहेक ठाउँ–ठाउँका झरीले ग्राभेल बगाएकाले यातायात सञ्चालनमा कठिनाइ छ ।

देश

गाउँ जाने सडक मर्मत धमाधम

- कान्तिपुर संवाददाता

लमजुङको बेंसीसहर नगरपालिका–६ चनौटेदेखि मकैडाँडा जोड्ने सडक डोजर लगाएर मर्मत गरिँदै । तस्बिर : आश गुरुङ/कान्तिपुर

लमजुङ (कास)– वर्षायाममा बाढीपहिरोले क्षतविक्षत बनाएका सडकको
मर्मत यतिबेला धमाधम भइरहेको छ । क्रमश: घटेको वर्षा र नजिकिएका चाडपर्वलाई ध्यानमा राख्दै जिल्लाका सबै स्थानीय तहले गाउँ पुग्ने बाटो मर्मत थालेका हुन् ।जिल्लाका चार नगरपालिका र चार गाउँपालिकाले डोजर लगाउनुका साथै कामदार प्रयोग गरेर बाटो मर्मत गरिरहेका छन् । मोटर नपुगेका गाउँमा स्थानीयले गोरेटोबाटोको सरसफाइ गरेका छन् । बेंसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले गाउँसहर, चण्डिस्थान, मैंयु, कार्कीडाँडालगायत जाने बाटोको मर्मत भइसकेको बताए । चितीतर्फ जाने सडक कामदारले मर्मत गरिरहेका छन् । नाल्मा, पुरानकोट, उदिपुर लगायतमा बाटो मर्मतको तयारी गरिएको छ । ‘डोजर नगरपालिकाकै हो । हामीले ड्राइभर राखेका छौं । तेल राखेर पठाउने गरिएको छ’, उनले भने । बेंसीसहर नगरपालिका–६ का होमबहादुर राउतले दसैंका बेला गरिएको सडक सरसफाइले चाडपर्वका बेला आउनेजानेलाई निकै सुविधा पुग्ने बताए ।सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले गाउँ जाने बाटो मर्मत जारी रहेको बताए । उनका अनुसार सुन्दरबजार खत्रीठाँटीबाट सिन्दुरे कुन्छाको माथिल्लो बाटो भागिरथी जाने सडक मर्मत गरिएको छ । यस्तै, बलिथुम जाने बाटो, सुन्दरबजार क्याम्पसगेटबाट सिउँडीबार जाने बाटो मर्मत गरिएको उनले बताए । ‘कुनै ठाउँमा ग्राभेल गरिएको छ । बाटेमा बनेका आहालजस्ता खाल्डा पुरेका छौं’, उनले भने, ‘यो आपतकालीन अवस्थामा गरिएका मर्मत हुन्, हामी फेरि मर्मत गर्छौं ।’राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाका अनुसार धमिलिकुवा–बोराङखोला, भैरवस्थान–कुँडुलेमा मर्मत भइसकेको छ । बोराङखोला–प्यारजुङ, तार्घुकाट–प्यारजुङलगायत सडकको मर्मत भइरहेको छ । ‘तत्काललाई हामीले २० लाख विनियोजन गरेका छौं । अपुग भएका सडकका लागि केही बजेट मिलाउन सकिन्छ’, उनले भने ।

दसैंअगाडि गाउँका सबै सडक खुलाउने योजना अनुरूप मर्मत भइरहेको मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । ‘सिउरुङ, उस्ता, छिनखोला, सिम्पानी लगायत ठाउँ पुग्ने बाटो मर्मत भइसक्यो । नयाँगाउँ, घनपोखरा, भुष्मेलगायत गाउँमा हुँदैछ’ उनले भने । बाटो खुलेसँगै पर्यटक आउने थालेको सिउरुङ ग्रामीण पर्यटन व्यवस्थापन समितिका सचिव उमरबहादुर गुरुङले बताए । दसैंलाई मध्यनजर गर्दै मध्यनेपाल नगरपालिका, क्व्होलासोंथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाका ग्रामीण सडकको पनि मर्मत तीव्र पारिएको छ ।

देश

साँघुरो सडकमा गाडीका ताँती

भालुवाङ–प्यूठान
- गिरुप्रसाद भण्डारी

प्यूठान– जिल्लाको मुख्य सडक भालुबाङ–प्यूठान खण्ड साँघुरो हुँदा यातायात असहज छ । अप्ठयारो र साँघुरो सडकमा गाडीको संख्या बढेपछि दुर्घटनाको जोखिमसमेत थपिएको छ । यो खण्डमा विपरीत दिशाबाट आउने गाडीलाई ‘साइड’ दिनै मुस्किल पर्ने चालक बताउँछन् । २०४४ सालमा खोलिएको सडक फराकिलो बनाउने योजना अझै कार्यान्वयन भएको छैन । ०६५/६६ मा वटासिल कालोपत्रे गर्नेबाहेक स्तरोन्नतिका थप काम अघि बढाएइको छैन । सडक ऐन ०३१ अनुसार सडकको मध्यभागबाट दायाँ–बायाँ १५ मिटर कायम हुनुपर्नेमा यहाँ निकै कम छ । सडकको लगतकट्टा पनि भएको छैन । बिजुवार–बाग्दुला क्षेत्रमा सडकै ओगटेर घर बनेका छन् ।
सडकमै निर्माण सामग्री राखेर भौतिक संरचना बनाइँदा गाडी पार गर्न अप्ठेरो पर्छ । बिजुवारको मित्रमणि चोकदेखि प्रहरी चौकीसम्म सवारीको चाप धेरै हुने चालक हेमन्त भण्डारी बताउँछन् । ‘गाडी बढेका छन्,’ उनले भने, ‘तर, सडक बढेको छैन ।’ सरुमारानी गाउँपालिका–१ मान्द्रे क्षेत्रमा अर्को गाडी भेटिए साइड दिनै मुस्किल हुने भण्डारीले बताए । ‘सडक साघँुरो र अप्ठयारो छ,’ उनले भने, ‘मुस्किलले साइड दिएर यात्रा तय गर्नुपर्छ ।’ पछिल्ला दिन नौबहिनी गाउँपालिकास्थित फोप्ली लुप्लुङबाट चुनढुंगा निकासी हुन थालेपछि यहाँ गुड्ने टिपरको संख्यासमेत बढेको छ । चुनढुंगा लिएका टिपर छिनछिनमै आउने गरेको भण्डारीको भनाइ छ । क्षमताभन्दा बढी भारका गाडी चल्दा सडक दिनहुँ जीर्ण हुँदै छ । खाल्डाखुल्डी बढेका छन् । बर्खामा खसेको पहिरो अझै पूरै हटाइसकिएको छैन ।
बिहान ९ देखि ११ र बेलुका ५ देखि ७ बजेसम्म गाडीको चाप धेरै रहने ट्राफिक प्रहरी कार्यालय देवीस्थानले जनाएको छ । ‘साँघुरो सडकमा धेरै गाडी चल्दा समस्या छ,’ प्रहरी नायब निरीक्षक छविलाल ढकालले भने, ‘रोकेर पास दिनुपर्दा समय लाग्ने गरेको छ ।’ नदीकिनार, घुम्ती धेरै, साँघुरो सडकमा स्पिड धेरैलगायत कारणले जोखिम बढेको ढकाल बताउँछन् । दसैंलाई लक्षित गरी सवारीसाधन थपिएकाले चाप अझ बढेको छ । ‘दसंैमा घरमा फर्केने बढेकाले व्यवसायीलाई गाडी थप्न लगाएका छौं,’ ढकालले भने, ‘गाडीमा धेरै यात्रु राख्ने समस्या त केही कम भयो तर धेरै गाडी पास गराउन समस्या छ ।’ सडक सुरक्षाका लागि आवश्यक स्टिलवाल, ग्याबिन केही स्थानमा मात्र रहेकाले चालकलाई विस्तारै गाडी चलाउन अनुरोध गरिएको उनले सुनाए । ‘जनशक्ति कम भएकाले सबै क्षेत्रमा पुग्न सकिँदैन,’ उनले भने । ट्राफिक प्रहरीका अनुसार रोल्पा र प्युठानका ३ सयभन्दा बढी सवारीसाधन दिनहुँ यो खण्ड ओहोरदोहोर गर्छन् ।‘सवारी चापका हिसाबले सडक फराकिलो हुनुपर्ने हो,’ सडक डिभिजन कार्यालय प्रमुख सुरेश न्यौपानेले भने, ‘फराकिलो गर्ने बजेट आएको छैन ।’ उनले नियमित मर्मत र केही स्थानमा घुम्ती कटिङको काम गरेको बताए । यस वर्ष सरुमारानी गाउँपालिकास्थित मान्द्रे क्षेत्रको अप्ठयारो घुम्ती फराकिलो गर्ने काम गरेको उनले बताए ।

Page 19
अर्थ वाणिज्य

हडताल निरुत्साहित गर्ने नयाँ श्रम ऐन

- होम कार्की

काठमाडौं– सरकारले औद्योगिक वातावरण बनाउन हडताललाई निरुत्साहित गर्ने गरी ल्याएको नयाँ श्रम ऐन कार्यान्वयनमा आएको छ । नयाँ श्रम ऐन कार्यान्वयनसँगै श्रम ऐन २०४८, औद्योगिक प्रशिक्षार्थी ऐन २०३९, निवृत्त कोष ऐन २०४२ खारेज भएका छन् ।यो ऐन घरेलु कामदारदेखि एकजना मात्र कामदार रहेका समेत सबै प्रतिष्ठान, गुठी, निजी फर्म, साझेदारी फर्म, सहकारी संस्थामा लागू भएको छ । यसअघि दसजना कामदार रहेका प्रतिष्ठानमा मात्रै श्रम ऐन लागू हुन्थ्यो । ऐनले औपचारिक क्षेत्रसरह अनौपचारिक क्षेत्रमा कार्यरत कामदारलाई पूर्ण रूपमा समेटेको छ । ऐनले चिया बगान, निर्माण व्यवसाय, यातायात श्रमिक, पर्यटनसँग सम्बन्धित श्रमिक, घरेलु श्रमिक, मौसमी प्रतिष्ठानलगायतका लागि विशेष व्यवस्था गरेको छ । नयाँ श्रम ऐनले कामदारलाई काममा लगाउने व्यक्तिलाई रोजगारदाताका रूपमा लिएको छ । ऐनले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्घिक कार्य गर्ने कामदार वा कर्मचारी वा जुनसुकै पद/नाम दिई काममा लगाइएको व्यक्तिको हकमा ऐन लागू हुने जनाएको छ । ५५ वर्ष रहेको अनिवार्य अवकाश उमेर बढाई ५८ वर्ष बनाइएको छ । अनिवार्य अवकाशको उमेर नियमित रोजगारीमा रहेको श्रमिकका लागि मात्र लागू हुन्छ । अरूलाई सो उमेरपछि काम गर्न बाधा हुँदैन ।

ऐनले निकै ठूलो विवादमा रहेको स्थायी र अस्थायी रहने व्यवस्थालाई हटाई नियमित, कार्यगत, समयगत, आकस्मिक र आंशिक कामदारका रूपमा रहने व्यवस्था लागू गरेको छ । जुनसुकै खालका कामदार भए पनि रोजगारदाताले नियुक्ति भएदेखि नै प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकबाट दस प्रतिशत रकम कट्टा गरी सो रकममा शत प्रतिशत रकम थप गरी सञ्चय कोषबापत र न्यूनतम पारिश्रमिकको ८ दशमलव ३३ प्रतिशत बराबरको रकम प्रत्येक महिना उपदानबापत सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि २ सय ४० दिन काम गरेपछि स्थायी हुने, स्थायी भएपछि मात्र सञ्चय कोष पाउने र स्थायी भएको तीन वर्षपछि मात्र उपदान पाउने व्यवस्था थियो । ‘यो व्यवस्थाले रोजगारदाता र कामदारबीच हुने सबैभन्दा ठूलो विवादलाई सम्बोधन गरेको छ,’ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का सचिव रमेश बडालले भने ।

नयाँ व्यवस्थाले रोजगारदाताले कामदारको कम्तीमा वार्षिक एक लाख रुपैयाँँ बराबरको औषधि उपचार बिमा गराउनुपर्ने, जुनसुकै प्रकारको दुर्घटनालाई समेट्ने गरी कम्तीमा सात लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गराउनुपर्नेछ । श्रम ऐनले कामदार आपूर्ति गर्ने व्यवस्थालाई पनि सम्बोधन गरेको छ । आपूर्तिकर्ताले श्रमिकलाई भुक्तान गर्नुपर्ने पारिश्रमिक, सुविधा वा रकम वा श्रम ऐनको पालनाको दायित्वसमेत पूरा गर्नुपर्ने र त्यो बोलपत्र भर्दा नै उल्लेख गर्नुपर्नेछ । आपूर्तिकर्ताले श्रम कानुनविपरीत भरेमा बोलपत्र रद्द हुने भएको छ । आपूर्तिकर्तामार्फत काम लगाएको भए पनि व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको विषयमा तथा श्रम कानुन पालना गरे/नगरेको अनुगमनको विषयमा मुख्य रोजगारदाता जिम्मेवार हुने व्यवस्था मिलाएको छ ।ऐनले कामदारको हकको विषयलाई लिएर हडताल गर्न नपाउने व्यवस्था गरेको छ । ‘कामदारको हक कानुनमै उल्लेख छ । नपाएमा अदालत जानुपर्छ । हितको विषयमा सामूहिक सौदाबाजीका लागि हडताल गर्न पाउँछ । तर, सोझै हडतालमा गए गैरकानुनी हुन्छ,’ बडालले भने, ‘सामूहिक सौदाबाजी समितिमार्फत रोजगारदातामा माग राख्न सकिनेछ ।’

ऐनले मेलमिलापको पक्षलाई बढी जोड दिएको छ । मेलमिलाप नहुँदा मात्रै ३० दिनको सूचना दिएर हडतालमा जान सकिने व्यवस्था छ । ‘कानुनको प्रतिकूल हुने गरी हडताल भएमा कुनै पारिश्रमिक नपाउने, कानुन प्रतिकूल हुने गरी तालाबन्दी भए श्रमिकले पूरा पारिश्रमिक पाउने र सामूहिक सम्झौतामा अन्यथा सहमति नभएमा कानुनी हडताल वा तालाबन्दीको अवधिमा श्रमिकले आधा पारिश्रमिक पाउनेछ,’ बडालले भने ।
ऐनले काम नगरेको दिनको पारिश्रमिक दिन नपर्ने व्यवस्था गरेको छ । यसअघि रोजगारदातालाई यो सुविधा दिइएको थिएन । महिला कामदारलाई बिहान ६ देखि बेलुका ६ बजेबीच मात्रै काममा लगाउन पाउने यसअघिको व्यवस्था हटाएको छ । महिलालाई थप सुविधा दिँदै सूर्यास्त भएपछि वा सूर्योदय हुनुभन्दा अघि काममा लगाउनुपरेमा यातायातको सुविधा, कार्यस्थलमा यौन दुव्र्यवहार गर्नेमाथि कारबाही, ७ महिनामाथिको गर्भपतन भएमा प्रसूति बिदा, सासू/ससुराको मृत्यु भएमा पनि पारिश्रमिकसहितको किरिया बिदा थपेको छ ।

ऐनले दुई/दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्नका लागि स्थायी न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गर्ने व्यवस्था राखेको छ । यसअघि अस्थायी थियो । वैशाखबाट समीक्षा भई साउन १ बाट नयाँ तलब लागू हुने व्यवस्था मिलाएको छ । ऐनले रोजगारदातालाई आर्थिक समस्या उत्पन्न भएमा वा एकभन्दा बढी प्रतिष्ठानहरू गाभिएका कारण श्रमिक संख्या बढी भएमा वा अन्य कुनै कारणले प्रतिष्ठान आंशिक वा पूर्ण रूपमा बन्द गर्नुपर्ने भएमा श्रमिकको संख्यामा कटौती गर्न अधिकार दिइएको छ । ऐन नियमको कार्यान्वयनमा भए नभएको हेर्न श्रम अडिटको नयाँ व्यवस्था थप गरेको छ । रोजगारादाताले प्रत्येक वर्ष चेकलिस्टका आधारमा अडिट गरी प्रतिवेदन श्रम कार्यालयमा बुझाउनुपर्नेछ ।
ऐनले एकजना मात्र मुद्दा हेर्ने अधिकारी हुने श्रम अदालतमा तीनजना न्यायाधीश रहने व्यवस्था गरेको छ । अदालतको निर्णय कार्यान्वयन नगर्नेलाई श्रम कार्यालयले अचल सम्पत्ति रोक्का राख्ने वा लिलाम बिक्री गर्ने, बैंक खाता रोक्का राख्न लेखी पठाउने, कानुनबमोजिम पाउने छुट, सहुलियत निलम्बन गर्ने व्यवस्था गरेको छ । उद्योगी व्यवसायीले नयाँ श्रम ऐनका कारण नेपालमा नयाँ रोजगार सिर्जनाको लागि ढोका खुलेको बताए । ‘नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐनको कारण दुई पक्षबीच समधुर श्रम सम्बन्ध कायम हुने अवस्था छ । हामीले श्रम लचकता खोजेका थियौं । त्यो ऐनमा छ,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, ‘अब पक्का औद्योगिक वातावरण बन्नेछ । नयाँ रोजगारी सिर्जना हुनेछ ।’ दक्षिण एसिया क्षेत्रीय ट्ेरड युनियन काउन्सिलका महासचिव लक्ष्मण बस्नेतका अनुसार अनौपचारिक क्षेत्रको अर्थतन्त्रलाई बलियो बनाउनसमेत ऐनले सम्बोधन गरेको छ । ‘अब हरेक कामदार गणना हुने भयो । सामूहिक रूपमा पाउने कामदारले जे सुविधा पाउँछन् । त्यो व्यक्तिले पनि पाउने भयो,’ उनले भने, ‘हायर एन्ड फायरसहित हिसाबले आएको हुँदा कानुनी रूपमा यो ऐन लचक बनेको छ ।’

अर्थ वाणिज्य

राज्यमन्त्री बजार अनुगमनमा

- भवानी भट्ट

कञ्चनपुर– दसैंको मुखमा हुने कालोबजारी नियन्त्रण गर्न र अखाद्य वस्तुको बिक्री रोक्न आपूर्ति राज्यमन्त्री कर्ण विक बजार अनुगमनमा खटिएका छन् । राज्यमन्त्री विक बिहीबार विभिन्न विभागका कर्मचारीसहित बजार अनुगमनमा लागेका हुन् । दुई दिन कैलालीको धनगढी बजारमा अनुगमनपश्चात् बिहीबारदेखि मन्त्रीको टोलीले महेन्द्रनगर बजारमा अनुगमन सुरु गरेको हो । महेन्द्रनगर बजारमा म्याद नाघेका खाद्य वस्तु, लेबल नभएको, बढी मूल्य लिएको र मूल्यसूची नराखेको भेटिएको छ । जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिसहित आपूर्ति मन्त्रालयका कर्मचारीहरूसमेत अनुगमनमा छन् । बिहीबार महेन्द्रनगर बजार क्षेत्रका एक दर्जन किराना, खाद्य, कस्मेटिक, औषधि पसल र पेट्रोल पम्पहरूमा समेत अनुगमन गरिएको छ । प्रायजसो भारतबाट आयात गरिएको चामल, तेल, मसला, बिस्कुट, पिठो आदिमा कालोबजारी हुने गरेको भेटिएको छ । यसैगरी अखाद्य तथा म्याद नाघेका वस्तुहरू कम मूल्यमा बिक्री हुने गरिएको भेटियो । ‘तेल, बिस्कुट र चाउचाउलगायत थुप्रै अखाद्य वस्तु नष्ट गरिएको छ,’ आपूर्ति मन्त्रालयको अनुगमन शाखाका शाखा अधिकृत गोविन्दप्रसाद लुइँटेलले भने, ‘दर्जन बढी पसलबाट ५० हजार बढीको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको हो ।’ उनले ५ सय पर्ने जुत्ता २७/२८ सयमा बेचेको तथा कर छली गरेको भेटिएको बताए । शुक्रबारसम्म कागजात नभेटिए उक्त पसलमा सिल लगाउने तयारी गरिएको उनले बताए । शुक्रबार पनि महेन्द्रनगरसँगै आसपासका बजारमा मन्त्रीसहितको टोली खटिनेछ ।

दुई दिनसम्म धनगढीमा गरेको अनुगमनका क्रममा २ वटा पसल सिल गरिएको र खाद्यान्न तथा अन्य मालसामान नष्ट गरिएको लुइँटेलले बताए । ‘खाद्य उद्योग, खाद्यान्न पसल, कस्मेटिक र जुत्ता चप्पलका पसलमा समेत कालोबजारी हुने गरेको भेटियो,’ उनले भने, ‘साढे ५ सय पर्ने जुत्ताको २२ सय लिएको पाइयो ।’ धनगढीमा २४ वटा खाद्य उद्योग तथा पसलमा अनुगमन गरिएको थियो । यसअघि जिल्ला प्रशासन कार्यालयमा मन्त्री विकले विभिन्न कार्यालयका कर्मचारीलाई चाडपर्वमा मात्रै हुने बजार अनुगमनलाई नियमित बनाउन निर्देशन दिएका थिए । ‘कर छली भएर आएको सामान उपभोक्ताले बढी मूल्यमा किन्नुपरेको छ,’ उनले भने, ‘खाद्य वस्तुमा मात्र होइन, लुगा कपडा र जुत्ता चप्पलमा समेत उपभोक्ताले आवश्यकताभन्दा बढी तिर्नुपरेको छ ।’ उनले सबभन्दा बढी कैलाली र कञ्चनपुरका उपभोक्ताहरू ठगिइरहेको बताए ।

Page 20
अर्थ वाणिज्य

खसीबोका आयातमा लापरबाही

- राजु चौधरी

काठमाडांै– चाडलाई लक्षित गरी आयात भइरहेका खसीबोका
मरेका र बिरामी फेला परेका छन् । पशुपक्षी विकास मन्त्रालय र पशुसेवा विभागले संयुक्त रूपमा गरेको अनुगमन यस्तो फेला परेको हो । मन्त्रालयका सचिव युवकध्वज जीसीका अनुसार क्वारेन्टाइन चेकपोइन्ट नागढुंगामा २९ वटा खसीबोका मरेको फेला परेका छन् । ५ वटा खसीबोका र ४ वटा राँगा बिरामीको अवस्थामा भेटिएको उनले बताए । जीसीका अनुसार ती खसीबोका यात्रुबाहक बसको डिक्कीमा लोड गरिएको थियो । ‘सुराकी र कर्मचारीको निगरानीमा चेक पोस्टमा अनुगमन गर्दा नेपालगन्जबाट बा५ख १६८३ नम्बरको यात्रुबाहक बसको डिक्कीमा करिब ४२ वटा खसीबोका राखिएको भेटियो । तीमध्ये २८ वटा मरेका थिए,’ सचिव जीसीले भने ।
नारायणघाटबाट आउँदै गरेको यात्रुबाहक बसमा पनि एउटा खसी मरेको अवस्थामा फेला परेको जनाइएको छ । मरेका खसीबोका नियन्त्रणमा लिइएको छ । नियमअनुसार उपत्यकामा मृत खसीबोकाको मासु बिक्री गर्न पाइँदैन । तर, चाडबाडको मौका छोपी व्यवसायीले मरेको खसीबोकासमेत भित्र्याएका हुन् । यस्तो मासु पार्टी प्यालेसलगायत ठूला ठाउँहरूमा बिक्री हुने गरेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । सचिव जीसीका अनुसार ४२ वटा खसीबोका युवराज पोखरेलले ल्याएका थिए । व्यवसायी पोखरेललाई ५ हजार जरिवाना गरेको उनले बताए । अनुगमन टोलीले यात्रुबाहक बसको छतमा राखेर ढुवानी गरिररहेको अवस्थामा ५० वटा खसीबोका नियन्त्रणमा लिएको छ ।पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार कानुन उल्लंघन गर्ने व्यक्तिलाई २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । पैठारी गरिएका पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा संक्रामक रोग पाइएमा दोब्बर जरिवाना हुने उल्लेख छ ।

अनुगमन टेलीले सुधार गर्नका लागि निर्देशनसहित ५ हजार जरिवाना गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दसैंलाई लक्षित गरी थानकोट, कलंकी, बालाजु, टुकुचा, बिजुलीबजार, बलम्बु, सल्लाघारीमा अनुगमन तीव्र बनाएको छ । विभागका पशु सेवा अधिकृत डा. आभास पौडेलका अनुसार बिहीबार ४ हजार ३ सय ९५ पशुपक्षी (खसीबोका, च्यांग्रा, राँगा) को स्वास्थ्य परीक्षण गरिएको थियो । बिहीबार भएको परीक्षणमा मरेको खसीबोका फेला परे पनि अन्य परीक्षण गर्दा सन्तोषजनक भेटिएको बताए । विभागको टोलीले कलंकीमा २ हजार, टुकुचामा ९ सय ९३, थानकोटमा ६ सय, बिजुली बजारमा ३ सय पशुपक्षीको स्वाथ्य परीक्षण गरेको थियो । यस्तै बलम्बुमा ३ सय १०, सल्लाघारीमा १ सय ९९ च्यांग्रा र ३ वटा भेडा परीक्षण गरेको थियो । ‘अनुगमनका क्रममा स्वस्थ खसीबोकाको सिङमा हरियो रङ र खान अयोग्य भएका पक्षीमा रातो लगाएका छौं,’ उनले भने । अनुगमनमा खटिएका कर्मचारीहरूले पशुपक्षीको तापक्रमको मापन, नाकबाट सिँगान, दिसा/पिसाबको जाँचको अधारमा खसीबोकाको सिङमा रङ लगाउने गरेको उनले बताए ।

विभागका अनुसार उपत्यकामा मुख्यत: ४ नाकाबाट माछामासु भित्रिन्छ । ती नाका थानकोट, दक्षिणकाली, बर्दिबास र फास्टट्रयाक हुन् । केही मात्रामा छेउ/छेउ तल्लो भागबाट पनि भित्रिन्छ । अनुगमनका लागि कर्मचारीहरू न्यून रहेकाले खसीबोका खरिद गर्दा सर्वसाधारणहरू स्वयं जागरुक हुन मन्त्रालयले आग्रह गरेको छ । ‘खसीबोका खरिद गर्दा हरियो रङ हेरौं । यदि रङ नभएको अवस्थामा नाकबाट सिँगान बगे/नबगेको हेरेर मात्रै खरिद गर्नुपर्छ,’ सचिव जीसीले भने । बिहीबार पशुपक्षी विकासमन्त्री सन्तकुमार थारूसहितको टोलीले कलंकीमा अनुगमन गरेको थियो । ‘सर्वसाधारणले स्वस्थ मासु उपभोग गरून् भनेर अनुगमन गरेका छौं । यसका लागि केन्द्रीय टोली गठन भएको छ,’ उनले भने, ‘अब अनुगमन निरन्तर हुन्छ ।’

व्यवसायीका अनुसार उपत्यकामा करिब ९५ प्रतिशत खसीबोका भारतबाट आपूर्ति हुन्छ । लामो दूरीका कारण पनि खसीबोकाहरू अस्वस्थ र मर्ने गरेको चौपाया व्यवसायीहरू बताउँछन् । ‘दसैंमा खसीबोका भारतकै भर पर्नुपर्छ,’ चौपाया व्यवसायी संघका अध्यक्ष दीपक थापाले भने, ‘लामो बाटोबाट ढुवानी हुँदा दुई/चारवटा स्वाभाविक रूपमा बिरामी भेटिन्छन् ।’ यसअघि असारमा क्वारेन्टाइन चेकप्वाइन्ट नागढुंगाले १८ वटा मरेका बाख्री नियन्त्रणमा लिएको थियो । पशु ढुवानी मापदण्डअनुसार एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा क्वारेन्टाइनको अनिवार्य स्वीकृति/सर्टिफिकेट चाहिन्छ । पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा कुनै रोग लागेको/नलागेको परीक्षण गरी ढुवानीको अनुमति दिन्छ । खसीबोकाका लागि अनुमति दिइए पनि बाख्री काट्नका लागि अनुमति दिइँदैन ।

अर्थ वाणिज्य

फेरियो नाका

- कृष्णप्रसाद गौतम

नेपालगन्ज– यस वर्ष भारतीय व्यापारीले कृष्णनगर नाकाबाट खसीबोका नेपाल भित्र्याएका छन् । नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुने समस्याका कारण कृष्णनगर नाका प्रयोग गरिएको हो । ‘त्यस नाकाबाट काठमाडौं र पोखरालगायतका सहरमा खसीबोका भित्र्याउन सजिलो भएपछि भारतीय र नेपाली व्यापारीले कृष्णनगर प्रयोग गर्न थालेका हुन्,’ पशु क्वारेन्टाइन कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. शंकर पाण्डेले भने, ‘गत वर्षभन्दा यस वर्ष खसीबोकाको आयात ६० प्रतिशत बढीले घटेको छ ।’ भारतीय व्यापारीले उक्त नाका प्रयोग गरेपछि नेपालगन्ज नाकामा पशु क्वारेन्टाइन कार्यालय फुर्सदिलो भएको छ । क्वारेन्टाइनका अनुसार मुग्लिनको बाटो पार गर्न नेपालगन्जबाट जाँदा ३/४ घण्टा ढिलो हुने भएकाले कृष्णनगरको नाका प्रयोग गरिएको हो । गत वर्षसम्म भारतबाट सबैभन्दा बढी खसीबोका भित्रिने नाकामा रुपैहिडा पथ्र्यो । यस वर्ष खसीबोकाको आयात ६० प्रतिशत बढीले घटेपछि यो वर्ष नेपालगन्ज, बर्दिया, दाङलगायतका जिल्लामा खसीबोकाको भाउ बढ्ने भएको छ । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा २० हजार मात्र खसीबोका यो नाका भएर नेपाल भित्रिएका छन् जब कि गत वर्ष दसैंलाई लक्षित गर्दै दुई महिनाको अवधिमा ४१ हजार ८ सय ३४ खसीबोका नेपालगन्ज नाकाबाट भित्रिएको नेपालगन्जस्थित क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

क्वारेन्टाइनका अनुसार गत वर्षसम्म यो नाका हुँदै आएका खसीबोका काठमाडौं, पोखरा र पूर्वी सहरहरूमा जाने गरेका थिए । गत वर्ष दसैंका लागि भदौ महिनामा १८ हजार ८ सय ३४ र असोज महिनामा २३ हजार खसीबोका नेपाल भित्रिएका थिए । यो वर्ष भदौ महिनामा करिब ११ हजार र साउन महिनामा करिब ९ हजार खसीबोका भित्रिएको क्वारेन्टाइन कार्यालयले जनाएको छ । भारतमा सबैभन्दा बढी झाँसी, कल्फी र कानपुरमा खसीबोकाको व्यापार हुने गरेको छ । कार्यालयका अनुसार नेपाली खसीबोकाको तुलनामा भारतीयको भाउ सस्तो पर्छ । गत वर्ष नेपालगन्ज नाका हुँदै २ लाख १० हजार ८ सय ६७ खसीबोका नेपाल भित्रिएका थिए भने अघिल्लो वर्ष १ लाख ६३ हजार ८ सय खसीबोका नेपाल भित्र्याइएका छन् । पशुसेवा कार्यालय बाँकेका अनुसार जिल्लामा बर्सेनि ५० हजार बढी खसीबोकाको उत्पादन हुने गरेको छ ।

अर्थ वाणिज्य

अत्याधुनिक बस सेवा

- कान्तिपुर संवाददाता

पोखरा– राजधानीबाट पोखराका लागि पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आधुनिक सुविधायुक्त बस थपेको छ । शुक्रबार पोखराबाट र शनिबार काठमाडौंबाट सञ्चालन सुरु हुने उक्त बस मुलुकमा हालसम्म भित्र्याइएकामध्ये सर्वाधिक महँगो र सुविधायुक्त रहेको समितिले जनाएको छ । समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै ५२ सिट बनाउन मिल्ने चेसिजमा २१ सिट मात्रै राखेर रेस्टुराँ, शौचालय र सिटपिच्छे टेलिभिजनको सुविधा रहेको जनाएको छ । खाना–खाजा खान टेबुल, पढ्न मिल्ने बत्ती, वाइफाई र सुत्न मिल्ने गरी फोल्डिङ हुन सक्ने फराकिला सिट राखिएका छन् । ‘टाटाको एलपी ६२ मोडलको चेसिजमा अमेरिका र सिंगापुरबाट झिकाइएका इन्टेरियर फिट गरिएको छ,’ सञ्चालक केशवप्रसाद अधिकारीले भने, ‘यो बस हाइक्वालिटी सर्भिसमध्येको हो ।’ चेसिज खरिद गरेर तयार पार्न मात्रै करिब नौ महिनाको अवधि लागेको बस सञ्चालनमा सघाउन एक महिना रहने गरी सँगै इञ्जिनियर पनि आएको उनले बताए । ‘दुई करोड रुपैयाँको लागतको हो,’ उनले भने, ‘गुडेको गति र स्थान थाहा पाउन जीपीएस पनि जडान भएको छ ।’ काठमाडौं–पोखरा प्रतिव्यक्ति २२ सय रुपैयाँ भाडा तय गरिएको उक्त बसले स्तरीय रेस्टुराँमा खाजा–खानाको सुविधा दिने जानकारी उनले दिए । ‘देशमा समस्या सडकको मात्रै छ, सडक राम्रो हुने हो भने हामी हाइक्लास सुविधाका गाडी भित्र्याउन सक्छौं,’ उनले भने, ‘पोहोर हामीले पोखरा–काठमाडौंका लागि सञ्चालनमा ल्याएको गाडीभन्दा यी बसमा धेरै सुविधा छन् ।’ पर्यटकीय नगरी भएकाले पोखराबाट चल्ने बसहरूमा यात्रुले सवारीको भाडा लिएअनुसार सुविधा स्तरीय हुनुपर्नेमा जोड दिइरहेका उनले बताए ।

अर्थ वाणिज्य

डिसहोमको रमाइलो टीभी र एक्सन स्पोर्टस

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– डिसहोमले आफ्नै नयाँ च्यानलहरूको प्रसारण सुरु गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा डिसहोमले ‘रमाइलो टीभी’ र ‘एक्सन स्पोर्टस’ च्यानलको प्रसारण सुरु भएको जारी विज्ञप्तिमा उल्लेख छ । डिसहोमको च्यानल नं १०४ मा प्रसारण हुने रमाइलो टीभीमा नयाा नेपाली हास्य शृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेली शृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामग्रीहरू प्रसारण हुने जनाइएको छ । यसैगरी डिसहोमको च्यानल नं १०५ मा प्रसारण हुने एक्सन स्पोर्टसमा नेपालभर हुने फुटबल, क्रिकेटलगायतका खेलको प्रत्यक्ष प्रसारण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तथा खेलकुदसम्बन्धी कार्यक्रमहरू प्रसारण हुने विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

मेरो टीभीको अफर

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मेरो टीभीले दसैं तिहार अफर ल्याएको छ । यसअन्तर्गत डिजिटल सेट टप बक्स नि:शुल्क पाइने विज्ञप्तिमा उल्लेख छ । यसैगरी एनालगबाट डिजिटलमा जाँदा कुनै शुल्क नलाग्ने पनि जनाइएको छ । यसैगरी ४२ सयको प्याकेजमा १२ सय १ रुपैयाँ छुट गरी केबल २९ सय ९९ मा १२ महिनाको प्याकेज पनि उपलब्ध रहेको विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

सामसङ डिजिटल प्लाजा चुच्चेपाटीमा

छोटकरी

काठमाडौं (कास)– सामसङ इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सको नेपालका लागि आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले सामसङ डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटीमा पनि खोलेको छ । हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छा र सामसङका ब्रान्ड एम्बेस्डर ज्योत्सना योगीले उक्त सोरुमको उद्घाटन गरेको जारी विज्ञप्तिमा उल्लेख छ । यो सामसरू डिजिटल प्लाजामा सामसगका प्राय: सबै उत्पादन उपलब्ध हुने जनाइएको छ । काठमाडौं उपत्यकाभित्र ८ वटा र उपत्यका बाहिर ५ वटा गरेर हालसम्म १३ वटा सामसङ प्लाजा खुलेको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

सिद्धार्थ बैंक इलाम र फिक्कलमा

छोटकरी

काठमाडौं (कास)– सिद्घार्थ बैंकले इलाम बजार र फिक्कल बजारमा शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन डेनिस राजदूतावासका प्रमुख इनग्रिड डहाल मेडसन र बैंकका अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रूपमा र फिक्कल शाखाको उद्घाटन बैंकका अध्यक्षले गरेको जारी विज्ञप्तिमा उल्लेख छ । यो शाखासहित बैंकले देशभरि रहेका ७७ शाखा, ३ एक्सटेन्सन काउन्टर ९९ एटीएम, ७० शाखारहित बैंकिङ सेवामार्फत सेवा दिइरहेको छ ।

अर्थ वाणिज्य

कार्ड कारोबारमा १० प्रतिशत नगद फिर्ता

छोटकरी
- कान्तिपुर संवाददाता

 काठमाडौं (कास)– भिसा, डेबिट वा क्रेडिट कार्डबाट कारोबार गर्दा १० प्रतिशत नगदै फिर्ता हुने भएको छ । चाडलाई लक्षित गरी बैंकहरूले योजना ल्याएका हुन् । १० प्रतिशत नगद फिर्ता लागि उपभोक्ताले एक दिनमा कम्तीमा ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको सामान खरिद गर्नुपर्ने हुन्छ । जसमा कार्डबाहकले प्रत्येक दिन १ हजार रुपैयाँसम्म मात्र नगद फिर्ता पाउनेछन् । तर, एकै दिन १० हजार रुपैयाँभन्दा बढीको कारोबार कार्डमार्फत भएमा १० हजार रुपैयाँसम्मको मात्र नगद फिर्ता पाइनेछ । यसरी खरिद भएको मूल्यको १० प्रतिशत नगद ग्राहकको बैंक खातामा फिर्ता आउनेछ । योजनाबाट हाललाई सेन्चुरी बंैक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक, एनसीसी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ता लाभान्वित हुने जनाइएको छ ।

Page 21
अर्थ वाणिज्य

अझै पुगेनन् गाउँमा बैंक

- वीरेन्द्र केसी

अर्घाखाँची– जिल्लाका छवटा स्थानीय तहमध्ये चारमा अझै बैंक पुगेका छैनन् । सन्धिखर्क र शीतगंगा नगरमा राष्ट्रिय वाणिज्य बैंकको सेवा भए पनि भूमिकास्थान नगर, पाणिनि, मालारानी र छत्रदेव गाउँपालिकामा यो सुविधा नभएको हो । सरकारले सबै स्थानीय तहमा बैंकको एउटा शाखा खोल्न अनिवार्य गरेको छ । तर, शाखा खोल्न बैंकहरू अझै गएका छैनन् । शिक्षक र विषयगत कार्यालयका कर्मचारीले यसपटक तलब गाउँपालिकाबाट बुझे पनि बैंक नहुँदा सदरमुकाम धाउन बाध्य भए । छत्रदेव गाउँपालिकाका लागि राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई शाखा खोल्न अनुमति दिएको छ । बैंक कहिले आउने निश्चित छैन । ‘बैंक नहुँदा चेक साट्ने कामका लागि सदरमुकाम धाउनुपर्छ,’ छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले भने, ‘एउटालाई मात्र अनुमति दिइयो । त्यो बैंक आउन नचाहे अर्काे बैंकले शाखा खोल्न पनि दिनुपर्छ ।’ नाराले सिंहदरबारको अधिकार गाउँमा भनिए पनि सुविधा अझै नपुगेको उनले बताए । तलबभत्ता र विकास योजनाका काम सम्पन्न भएपछि भुक्तानी गाउँपालिकाबाटै गर्न बैंक तथा वित्तीय संस्थाका शाखा नहुँदा असजिलो छ । सदरमुकाम धाउनुपर्दा झन्झट भएको उनले बताए । रकम चाहिए चेक साट्न सदरमुकाम दौडनुपर्दा कार्यालयको काममा बाधा पुगेको पोखरेलको दाबी छ । दसैं नजिकिँदै जाँदा बैंकमा भीड छ । सदरमुकाम पुगेर चेक साट्न दुई दिन समय लाग्ने गर्छ । चालु आर्थिक वर्षको वक्तव्यमार्फत सरकारले वृद्धभत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ । बैंक नहुँदा झन्झटिलो भएको मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

गाउँपालिकाको खाता सञ्चालन गर्न ‘क’ वर्गको बैंकले मात्रै अनुमति पाउँछ । ‘हालसम्म ‘क’ वर्गका बैंक शाखा खोल्न कोही आएका छैनन्,’ उनले भने, ‘राष्ट्र बैंकले कसलाई तोकेको छ । जानकारी छैन । गाउँपालिका नजिकै ‘ख’ वर्गको एउटा बैंक छ । त्यसैलाई अनुमति दिन माग गरेका छौं ।’ तलब र अन्य सबै प्रक्रिया गाउँपालिकामै मिलाउनुपर्ने र चेक साट्न सदरमुकाम जानुपर्ने भएकाले दौडधुप र दु:ख धेरै भएको शिक्षक तिलक पाण्डेले बताए । विकास बजेट र कार्यालय सञ्चालनका लागि प्रक्रिया गाउँपालिकामा मिलाएर रकम निकास गर्न सदरमुकाम जाने गरेका छन् । सरकारले गत चैत २९ मा सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको थियो । राष्ट्रिय वाणिज्य बैंक, कृषिलगायत डेढ दर्शन वित्तीय संस्थाले सदरमुकामबाट सेवा दिइरहेका छन् । ‘साामाजिक सुरक्षा भत्ता बैंकमा पठाउने व्यवस्था छ तर वृद्धवृद्धालाई दु:ख हुन्छ भनेर पैसा झिकेर टोलैपिच्छे पुगेर वितरण गर्‍यौं,’ भूमिकास्थान नगर उपप्रमुख खडानन्द बेल्बासेले भने, ‘अर्काेपटक घर–घरमै पुगेर दिन्छौं । बैंक नहुँदा सबै काममा असहज भएको छ ।’

Page 22
खेलकुद

आर्मी १३ स्वर्णसहित च्याम्पियन

गणेशमान स्मृति राष्ट्रिय बक्सिङ
- कान्तिपुर संवाददाता
गणेशमान स्मृति राष्ट्रिय बक्सिङमा बिहीबार फाइनल भिड्दै आर्मी र एपीएफका महिला खेलाडी ।

काठमाडौं– वसन्तपुर डबलीमा बिहीबार सम्पन्न दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय महिला तथा पुरुष खुला बक्सिङमा आर्मीले १३ स्वर्णसहित टिम च्याम्पियनको ट्रफी जितेको छ ।आर्मीका खेलाडीले बिहीबार फाइनलमा महिलातर्फ ६ स्वर्ण र २ रजत तथा पुरुषतर्फ ७ स्वर्ण र ७ रजत पदक जितेका थिए । दोस्रो स्थानको एपीएफ क्लबले समग्रमा ४ स्वर्ण र ८ रजत पदक जित्यो ।पुरुष ४९ केजी तौलमा एपीएफका लक्षुमन तामाङले नक्सालका सुशील थापालाई अंकका आधारमा हराउँदै स्वर्ण जिते । ५२ केजीमा आर्मीका प्रेम चौधरी विजेता भए । उनले एपीएफका विक्रम परियारलाई अंकका आधारमा पराजित गरे । एपीएफका पूरन राईले आर्मीका विमल रोकालाई अंकमै हराएर ५६ केजीको स्वर्ण जिते ।
त्यस्तै ६० केजी फाइनलमा आर्मीका सुरेश नेपालीले आफ्नै टिमका एकबहादुर घलेलाई हराए । ६४ केजीको स्वर्ण जित्दा आर्मीका दीपक श्रेष्ठले पुलिसका भूपेन्द्र थापामाथि जित पाए । आर्मीका विष्णुप्रसाद घलेले ६९ केजीको स्वर्ण हत्याए । उनले एपीएफका विकास बल लामालाई ढाले । आर्मीका दिपेश लामाले ७५ केजीको स्वर्ण जित्दा एपीएफका कौशलजंग थापालाई हराए । ८१ केजीमा कास्कीका दीपक सुनुवार आर्मीका अर्जुन सिगोलाई अंकका आधारमा हराउँदै स्वर्ण जित्न सफल भए । ९१ केजीमा आर्मीका महेन्द्र केसी विजयी भए । उनले एपीएफका गोकुल गुरुङलाई हराए । ९१ केजीमाथि आर्मीका आशिष दवाडीले सहजै सफलता पाए । आफ्नै टिमका श्याम खड्का घाइते भएर खेल त्यागेपछि आशिषले स्वर्ण जिते । योङ स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको महिला ४८ केजीमा आर्मीकी ललिता महर्जनले स्वर्ण जितिन् । उनले एपीएफकी नङजा बुढामगरलाई अंकका आधारमा हराइन् । ५१ केजी फाइनलमा आर्मीकी गीता थापामगरले एपीएफकी माला राईलाई अंकका आधारमा हराइन् ।आर्मीकी विमला श्रेष्ठले एपीएफकी सन्जु लामालाई अंकका आधारमा हराउँदै ५४ केजीको स्वर्ण जितिन् । ५७ केजीको स्वर्ण जित्दा आर्मीकी चन्द्रकला थापाले कास्कीकी सिसम थापामगरलाई हराइन् । ६० केजी फाइनलमा एपीएफकी संगीता सुनुवारले आर्मीकी सोनाम रोकाय हराइन् । आर्मीकी पूनम रावलले ६४ केजीको स्वर्ण जित्दा एपीएफकी बिनिता थापामगरलाई पन्छाइन् । ६९ केजीमा आर्मीकी बन्दना सापकोटाले स्वर्ण जितिन् । उनले आर्मीकै सविना श्रेष्ठलाई हराइन् । ७५ केजीतर्फ एपीएफकी सरस्वती रानामगरले आर्मीकी अनुपा चौधरी हराउँदै स्वर्ण जितेकी थिइन् ।

खेलकुद

बंगलादेशविरुद्ध नेपाल विजयी

आमन्त्रण पुरुष कबड्डी

काठमाडौं (कास)– नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपालले बंगलादेशलाई ३७–३५ अंकले पराजित गर्‍यो । नेपालका विजय चन्द उत्कृष्ट रेडर र बंगलादेशका तुहिन उत्कृष्ट डिफेन्डर चुनिए ।नेपालले पहिलोपल्ट बंगलादेशलाई हराएको हो ।अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगितामा नेपाल, बंगलादेश र भारत गरी ३ राष्ट्र सहभागी छन् । राउन्ड रोबिन लिगमा सबैले सबैसँग खेल्नेछन् । त्यसमा शीर्ष दुई स्थान हात पार्ने टोलीबीच पुन: फाइनल हुनेछ । शुक्रबार भारत र बंगलादेश तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

खेलकुद

लगातार भारतको जित

कोलकाता (एएफपी)– कुलदीप यादवले ह्याट्रिक विकेट लिएपछि बिहीबार भारतले दोस्रो वान डेमा अस्ट्रेलियालाई ५० रनले पराजित गरेको छ । भारतले पाँच खेलको शृंखलामा २–० को अग्रता लियो । २ सय ५३ रनको लक्ष्य पछ्याएको अस्ट्ेरलियाको इनिङ्सलाई धराशायी बनाउने क्रममा कुलदीपले तल्लोक्रमका तीन ब्याट्सम्यानलाई आउट गरेका थिए ।
अस्ट्रेलिया ४३.१ ओभरमा २ सय २ रन बनाउँदै अलआउट हुँदा मध्यक्रमका ब्याट्सम्यान मार्कस स्टोइनिस ६२ रनमा अविजित रहे । कप्तान स्टिभ स्मिथले ५९ रन जोडेका थिए । भारतका भुवनेश्वर कुमारले दुवै ओपनरलाई आउट गर्दै कुल ३ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले कप्तान विराट कोहलीको ९२ रन मदतमा २ सय ५२ रन जोड्यो । अन्तिम बलमा अलआउट भारतबाट ओपनर अजिन्क्या रहानेले ५५ रन जोडे । अस्ट्रेलियाका नाथन कल्टर नाइल र केन रिचर्डसनले ३–३ विकेट लिए । अन्तर्राष्ट्रिय वान डेमा यो भारत लगातार आठौं जित हो । शृंखलाको तेस्रो खेल आइतबार इन्दोरमा हुनेछ ।

खेलकुद

घरेलु मैदानमा झापा स्तब्ध

दूधे गोल्डकप फुटबल
- अर्जुन राजवंशी

दमक– टाइब्रेकरमा लगातार तीन खेलाडीको प्रहार बाहिरिएपछि झापा ११ घरेलु स्पर्धा प्रथम दूधे गोल्डकप फुटबलबाट बाहिरिएको छ । झापा हिमालयन शेर्पा क्लबसँग टाइब्रेकरमा ३–२ ले पराजित भयो ।
प्रतिस्पर्धात्मक खेल जितेर हिमालयन शेर्पा सेमिफाइनल पुगेको छ । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा कप्तान योगेश गुरुङ, बुद्ध चेम्जोङ र पुजन उपरकोटीको प्रहार बाहिरिएपछि झापा स्तब्ध बन्यो । झापाका कर्ण लिम्बू र रवि थापामगरको प्रहारमात्र गोल भयो । हिमालयनका विजय श्रेष्ठ, दिवस उराँव र विके लामाले गोल गरेका थिए । कप्तान लक्ष्मण जिसीको प्रहार पोलमा लागेर बाहिरियो भने गोलकिपर भीमसेन दुराको प्रहार पनि गोल हुन सकेन । खेलमा अग्रता भने घरेलु टोली झापाले बनाएको हो । १५ औं मिनेटमा कर्ण लिम्बूको ब्याक पासमा कप्तान योगेशले वान टचमै गोल गरे । ३१ औं मिनेटमा हिमालयनका खेलाडीले विशाल राई ‘ए’ लाई लडाएपछि झापाले पेनाल्टी पायो । तर कप्तान योगेशले फितलो प्रहार गर्दै पेनाल्टी खेर फालेका थिए । एक गोलले पछि परेको हिमालयनले दोस्रो हाफको सातौं मिनेटमै गोल फर्काउँदै खेल बराबरीमा ल्यायो । टोलीका विजय श्रेष्ठले गोल गरे । झापा भने पटक–पटक चुकेको थियो । विशाल राईको आधा दर्जनभन्दा बढी पटकको प्रहार बाहिरियो । दोस्रो हाफमा गोल गर्न निर्क संघर्ष गरे पनि झापाका खेलाडीको अधिकांश प्रहार असफल भयो ।नवौं मिनेटमा हिमालयनका दिवसले पेनाल्टी–बक्स नजिकबाट गरेको सशक्त प्रहार गोलरक्षक किशोर गिरीले उत्कृष्ट ढंगबाट पन्च गर्दै बाहिर पठाए । ३५ औं मिनेटमा हिमालयनकै बिके लामाले पेनाल्टी एरियाबाट गरेको प्रहार पनि गोलकिपर गिरीले रोके । हिमालयनका विजय श्रेष्ठ म्यान अफ द म्याच भए । शुक्रबार त्रिभुवन आर्मी क्लबले मोरङविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

खेलकुद

दसैं रनमा राजकुमार विजयी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– उज्वल तारा स्कुलले बिहीबार दसंै रन फर गुड हेल्थ नारासाथ दौड प्रतियोगिता आयोजना गरेको छ । दौडको ५ किलोमिटर खुलामा राजकुमार कुलुङ, चन्द्र चापागाईं, प्रमोद थापा क्रमश: शीर्ष तीनस्थानमा विजयी भए । अभिभावकतर्फ ५ किमि दौडमा विकास बस्नेत विजयी भए । ३ किमि खुलामा चन्द्रावती विष्ट, चन्दना गुरुङ, सिर्जना बिक पहिलो, दोस्रो र तेस्रो भए । तीन किमि दूरीको अभिभावकतर्फ उमा खड्का विजयी भइन् ।खुला ५ किमि वाकाथनमा शिव राउत, राजु कार्की र होम पाण्डे पहिलो, दोस्रो र तेस्रो भए । अभिभावकको ५ किमि वाकाथनमा पुरुषमा विपिन भुर्तेल र महिलामा लक्ष्मी श्रेष्ठ बिजयी भए ।दौडका विजेतालाई कागेश्वरी नपाका मेयर कृष्णहरि थापा, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र स्कुलका प्रिन्सिपल सम्झना पोखरेल पुरस्कृत गरे ।

खेलकुद

रियलको खराब प्रदर्शन

म्याड्रिड (एएफपी)– प्रतिबन्धपछि ला लिगामा पहिलो पटक रियलको जर्सीमा उत्रिएका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको पुनरागमन सुखद रहेन । रियल बेटिसका एन्टोनियो सानाब्रियाले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेपछि रियल म्याड्रिड घरेलु मैदानमा १–० ले पराजित भयो । सिक्स यार्ड बक्सनिर अनमार्क रहेका सानाब्रियाले एन्टोनियो बार्रागानको क्रसमा सहजै हेडर गोल गरेका थिए । पराजयसँगै रियल लिगको शीर्षस्थानको बार्सिलोनाभन्दा ७ अंकले पछाडि परेको छ । ला लिगाअन्तर्गत रियलले जारी सिजनमा घरेलु मैदानमा खेलेका तीनै खेलमा जित दर्ता गर्न सकेको छैन । सन् १९९८ यता बेटिसको बेर्नाबेउमा यो पहिलो जित थियो भने रियलले पछिल्ला ७४ खेलमा गोल गरेको शृंखला पनि तोडिएको छ ।
म्याड्रिडको अर्को टोली एट्लेटिको भने एथलेटिक बिल्बाओलाई २–१ ले पराजित गर्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लियो । सेभियाले जेसस नाभासको गोलमा लास पाल्मासलाई १–० ले हराउँदै दोस्रो स्थान कब्जा गर्‍यो । अल्भेस सिजनको लगातार पाँचौं हार बेहोर्ने क्रममा डेपोर्टिभो ला कोरुनासँग १–० ले पराजित भयो । युनाइटेड र चेल्सी चौथो चरणमा लन्डन– बेल्जियन फरवार्ड मिसी बासुआईको ह्याट्रिकमा चेल्सीले तल्लो श्रेणीको नटिङघम फरेस्टलाई ५–१ ले पराजित गरेको छ । लिग कपअन्तर्गत बुधबार चेल्सीले केनेडीले १३ औं मिनेट गरेको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा चार्ली मुसोन्डा र मिसी बासुआइले गोल थपे । खेलको ५३ औं र ८६ औं मिनेटमा गोल गर्दै बासुआईले ह्याट्रिक पूरा गरे । नटिङघमका टेन्दाई दारिक्वाले अन्तिममा एक गोल फर्काए ।

म्यानचेस्टर युनाइटेडले बर्टन एल्बिएनलाई ४–१ ले हराउँदा मार्कस रसफोर्डले दुई गोल गरे । जेसे लिन्गार्ड र एन्थोनी मार्सियलले पनि युनाइटेडको जितमा गोल गरे । अर्को म्यानचेस्टर क्लब सिटीको जितमा लेरोय साने नायक भए । उनको दुई गोलमा सिटीले वेस्ट ब्रोमलाई २–१ ले हरायो । सानेले खेलको तेस्रो र ७७ औं मिनेटमा गोल गर्दा टोलीले दुईपल्ट अग्रता लियो । आर्सनलले घरेलु मैदान इमिरेट्समा डोन्कास्टर रोभार्सलाई १–० ले पराजित गर्दा थियो वाल्कटले गरेको २५ औं मिनेटको गोल निर्णायक साबित भयो । दोस्रो रोजाइका डोमिनिक काल्भर्ट लेविनले दुई गोल गरेपछि एभरटनले सन्डरल्यान्डलाई ३–० ले हरायो ।

खेलकुद

कमलेश र अविनाश विजेता

- कान्तिपुर संवाददाता

लेखनाथ (कास)– पोखरा रंगशालामा जारी आईटीएफ सिनियर सर्किट–२ टेनिसको ३५ वर्षमाथिको डबल्समा भारतका कमलेश शुक्ला र अविनाश कुँवरको जोडी च्याम्पियन भएको छ । बिहीबार उनीहरूले भारतकै दिलीप मोहन्ती र स्वर्णदीप सिंह ढोंढीलाई ३–६, ६–४, १०–८ को कठिन सेटमा हराउँदै उपाधि जिते । ४५ वर्षमाथि डबल्सतर्फको उपाधि भारतका नारायण मूर्ति र हतिन्द्र पानवरको जोडीले जितेको छ । उनीहरूले फाइनलमा नेपालका विनोद कायस्थ र भारतका विनोद सेठको जोडीलाई ६–१, ६–२ को सोझो सेटमा हराए ।


एकलको फाइनल आज

एकलतर्फको फाइनल शुक्रबार हुनेछ । बिहीबार बिहानैदेखि वर्षा भएकाले खेल रोकिएको आयोजकले जनाएको छ । शुक्रबार ३५ वर्षमाथि एकल उपाधिलाई भारतीय खेलाडीद्वय दिलीप मोहन्ती र कमलेश गुप्ता भिड्ने छन् । ४५ वर्षमाथि एकलमा विनोद सेठ र नारायण मूर्तिबीच फाइनल हुनेछ । दुवै भारतीय हुन् । ५५ वर्षमाथि एकलमा नेपालका मनोज राणाले भारतका पुनीतकुमार गुप्ताविरुद्ध
प्रतिस्पर्धा गर्नेछन् ।

Page 23
खेलकुद

भारतसँग जित्नैपर्ने दबाब

- कान्तिपुर संवाददाता

काठमाडौं– एएफसी यू–१६ च्याम्पियनसिपको छनोट चरणअन्तर्गत नेपालले शुक्रबार समूह ‘डी’ को दोस्रो खेलमा छिमेकी टोली भारतको सामना गर्दै छ । नेपाल पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इराकसँग १–० ले पराजित भएको थियो । प्यालेस्टाइनमाथि ३–० को विजय नतिजा निकालेको भारत भने बलियो अवस्थामा छ । नेपालले छनोटको आशा जीवितै राख्न भारतलाई पराजित गर्नैपर्छ ।पालका प्रशिक्षक सुनील श्रेष्ठले भारतविरुद्ध जितको लक्ष्य लिएर उत्रने बताए । ‘पहिलो खेल हारेकाले टोलीमाथि केही दबाब छ, तर यो हाम्रा लागि अन्तिम मौका हो । त्यसैले सक्दो राम्रो प्रदर्शन गर्नुपर्ने छ,’ उनले थपे, ‘टोलीमा केही चोटको समस्या छ । खेलअघि फिटनेस हेरेर अन्तिम टोली छनोट गर्नेछौं ।’ भारतविरुद्ध गत महिना सम्पन्न साफ यू–१५ च्याम्पियनसिपमा नेपाल दुवै खेलमा २–१ ले पराजित भएको थियो । तर त्यो नतिजाले टोलीमा केही दबाब नपर्ने प्रशिक्षक श्रेष्ठको बुझाइ छ । ‘भारतविरुद्ध पछिल्लो खेलमा जित हात नपारे पनि टोलीको मनोबल गिरेको छैन । हामीले भारतलाई नजिकबाट नियालेका छौं, त्यसैअनुसार रणनीति तयार पार्छौं,’ उनले भने ।भारतका प्रशिक्षक बिबियानो फर्नान्डेजले नेपालविरुद्धको खेल निकै कठिन हुने अभिव्यक्ति दिए । ‘नेपाल आयोजक राष्ट्र हो र उसले राम्रो फुटबल खेल्छ । पछिल्ला दुवै खेलमा हामीले निकै मिहिनेत गर्नुपरेको थियो । शुक्रबार पनि त्यस्तै खेल हुने अपेक्षा गरेको छु,’ उनले भने ।भारतले पहिलो खेलमा चोटका कारण केही खेलाडीलाई विश्राम दिएको थियो । नेपालविरुद्ध ती खेलाडी फर्कने सम्भावना छ । दिनको पहिलो खेलमा इराक र प्यालेस्टाइन भिड्ने छन् ।


यू–१८ मा जितको खोजी

भुटानमा जारी साफ यू–१८ च्याम्पियनसिप अन्तर्गत डिफेन्डिङ च्याम्पियन नेपालले शुक्रबार माल्दिभ्ससँग खेल्दै छ । पहिलो खेलमा आयोजक भुटानसँग १–० ले पराजित नेपाल पहिलो जितको खोजीमा हुनेछ । विपक्षी टोली माल्दिभ्सले भने खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा भुटानसँग १–० ले पराजित माल्दिभ्सले दोस्रो खेल बंगलादेशसँग २–० ले गुमाएको थियो । सुरुआती दुवै खेल जितेको बंगलादेश अंकतालिकाको शीर्षस्थानमा छ । समान ६ अंक बोकेको भुटान गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । शुक्रबारै भुटान र भारत पनि भिड्दै छन् । नेपालजस्तै भारत र माल्दिभ्स पनि पहिलो अंकको खोजीमा हुने छन् ।

खेलकुद

प्रशिक्षणलाई प्रतिभा नेदरल्यान्ड्सतिर

- कान्तिपुर संवाददाता
प्रतिभा माली

काठमाडौं (कास)– राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा माली तीन साताको प्रशिक्षणका लागि बिहीबार नेदरल्यान्ड्स गएकी छिन् । डच भलिबल संघको निमन्त्रणामा उनी आफ्नै खर्चमा त्यसतर्फ गएकी हुन् । यद्यपि प्रतिभाको प्रशिक्षणको सबै खर्च नेदरल्यान्ड्स भलिबल संघले बेहोर्ने बताइएको छ । केही महिनाअघि नेपाल आएका डच प्रशिक्षक म्याट भान विजल प्रतिभाको प्रदर्शनबाट प्रभावित भएपछि उनलाई त्यहाँ संघमार्फत प्रशिक्षणको निम्तो दिइएको हो ।प्रतिभा ब्रान्ड एम्बासडर रहेको साहस स्पोर्टसले बिहीबारै एक कार्यक्रमबीच उनलाई बिदाइ गर्‍यो । कार्यक्रममा प्रतिभाले सबैको प्रेरणाले आफू यहाँ पुग्न सफल भएको बताइन् । ‘मलाई यहाँसम्म पर्‍ुयाउन संघ, प्रशिक्षक र समर्थकले धेरै सहयोग गर्नुभएको छ । म सबैलाई धन्यवाद भन्न चाहन्छु । त्यहाँ रहेर प्रशिक्षण गर्नाले मेरो खेलमा अझै सुधार आउने विश्वास छ,’ उनले भनिन् । उनलाई साहसका प्रबन्ध निर्देशक जनक न्यौपाने लगायतले शुभकामनासहित बिदाइ गरे । प्रशिक्षणपछि प्रतिभा असोज ३० मा स्वदेश फर्कने छिन् ।

खेलकुद

मास्टर सेलेक्सन गल्फ हुने

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) को शतवार्षिकीको अवसरमा मास्टर सेलेक्सन गल्फ प्रतियोगिता हुने भएको छ । विजय डिस्ट्रिलरीको उत्पादन मास्टर सेलेक्सन ह्विस्कीको प्रायोजन हुने स्पर्धामा करिब सय खेलाडीले भाग लिने संयोजक किसन अग्रवालले जानकारी दिए । ३/४ स्टेबलफोर्ड फरम्याटमा खेलिने प्रतियोगिता शुक्रबार सुरु हँुदै छ । वर्षायाम सकिएपछिको पहिलो प्रतियोगिता रहेको मास्टर सेलेक्सन गल्फका विजेता प्रतियोगीले हवाई टिकटसँगै ट्रफी हात पार्नेछन् ।

खेलकुद

मेयर कप फुटबल

छोटकरी
- कान्तिपुर संवाददाता

दार्चुला (कास)– महाकाली नगरपालिकामा बिहीबार प्रथम मेयर कप फुटबल सुरु भएको छ । महाकाली नगरपालिका वडा–७ को आयोजना र मालिकार्जुन युवा क्लब धापको सहआयोजनामा नगरस्तरीय प्रतियोगिता भएको हो । नगरपालिकाभित्रका ९ वडाबीच प्रतिस्पर्धा हुनेछ । प्रतिभाशाली खेलाडीको खोजी गर्ने उद्देश्यले प्रतियोगिता गरिएको वडाध्यक्ष दिनेशराज जोशीले बताए । विजेताले ५५ हजार ५ सय ५५ र पाउने छन् ।

Page 24
खेलकुद

ज्ञानेन्द्रको शतक

- कान्तिपुर संवाददाता
चेन्नईको मिलापोर रिक्रिएसन क्लबविरुद्ध शतक बनाएपछि नेपालका ज्ञानेन्द्र मल्ल ।

काठमाडौं (कास)– उपकप्तान ज्ञानेन्द्र मल्लको शतकपछि नेपालले दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । हङकङसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेललाई तयारी गर्न भारतमा रहेको नेपालले बिहीबार चेन्नईको स्थानीय टोली मिलापोर रिक्रिएसन क्लबलाई ५२ रनले पराजित गरेको हो । नेपालले यसअघि डिन्डिगुल ड्रागन्सलाई १ सय ५३ रनले हराएको थियो । बिहीबार टस जितेको नेपालले एसआरएम युनिभर्सिटी मैदानमा ५० ओभरमा ७ विकेट गुमाई २ सय ५१ रन बनायो । मिलापोरले ८ विकेट गुमाएर १ सय ९९ रनमात्र बनाउन सक्यो ।
ज्ञानेन्द्र १ सय रन बनाई रिटायर्ड आउट भए । १ सय २३ बल खेलेका उनले १३ चौका र १ छक्का प्रहार गरे । ४० औं ओभरमा उनी पवेलियन फर्किएका थिए । अर्का ओपनर सागर पुनले ५४ बल खेल्दा १ चौकासहित २५ रन बनाए । ज्ञानेन्द्र आउट भएपछि क्रिजमा गएका पारस खड्का ३ छक्का प्रहार गर्दै खेलमा हाबी हुन खोजे । तर उनी १० बलमा २३ रन बनाई आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गरेका शरद भेषावकरले ४८ रन बनाए । ४४ औं ओभरमा आउट हुनुपूर्व ७३ बल खेलेका उनले ५ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरी ३ र विनोद भण्डारी शून्यमै आउट भए । करण केसीले १० बलमा १ चौका र २ छौका प्रहार गरी २० रन जोडे । आरिफ शेख ६ र सोमपाल कामी ९ बलमा १ छक्का प्रहार गरी १६ रनमा नटआउट रहे । मिलापोरका गणेश मूर्ति, एभीआर रथ्नम र एन ह्यारिसले २–२ विकेट लिए । माथिल्लो क्रमका ब्याट्सम्यानले राम्रो स्कोर गरे पनि मिलापोरको स्कोर नेपालको छेउछाउ देखिएको थिएन । टोलीका पहिलो तीन ब्याट्सम्यान सुदन सन्जीवले ३७, आर. विवेकले ३८ र मोहम्मद असिफ्याले ३३ रन जोडेका थिए । त्यसपछिका ब्याट्सम्यानहरू पालैपालो जस्तै आउट भएका थिए । रथ्नमले ५६ बलमा २ चौका प्रहार गरी नटआउट ३५ रन बनाएपछि मात्र मिलापोरको स्कोर हेन लायक बनेको थियो । नेपालबाट सुसन भारी, सागर र दीपेन्द्रले २–२ तथा सन्दीप लामिछानेले १ विकेट लिए । नेपालले तेस्रो खेल शनिबार खेल्नेछ ।

खेलकुद

हिमालयन र चाबहिल भिड्ने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– हिमालयन शेर्पा क्लब र चाबहिल एजे टिम प्रथम किसुनजी कप नकआउट फुटबलमा शुक्रबार फाइनल पुगेका छन् । कपनमा जारी स्पर्धाको सेमिफाइनलमा हिमालयनले जावलाखेल युथलाई टाइब्रेकरमा २–१ ले हरायो । निर्धारित समय १–१ भएको थियो । चाबहिलले सामाखुसी फुटसललाई ७–३ ले हराउँदा सन्तोष नेपालीले ह्याट्रिक, आकाश गुरुङ र उमेश लामाले २–२ गोल गरे । फाइनल शनिबार हुनेछ ।

खेलकुद

शर्माको स्मृतिमा साइकल र्‍याली

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं नेपालका प्रथम फिफा रेफ्री स्व. रुपकराज शर्माको स्मृतिमा साइकल र्‍याली हुने भएको छ । रुपक स्मृति प्रतिष्ठानले शर्माको २५ औं वार्षिक पुण्यतिथि र हवाई मार्गको सुरक्षामा आवाज उठाउन र्‍याली आयोजना गर्न लागेको हो । प्रतिष्ठानले सातदोबाटोस्थित आफ्नो भवनबाट लेलेस्थित स्मृति पार्कसम्म साइकल र्‍याली गर्ने भएको छ ।शर्मा २०४९ सालमा पाकिस्तान एयरलायन्सको विमान दुर्घटनामा परेका थिए । ललितपुरको लेलेमा भएको उक्त दुर्घटनामा १ सय ६७ जनाले ज्यान गुमाएका थिए । २४ किलोमिटर दूरीको र्‍याली पार गरेपछि श्रद्धान्जली सभासँगै हवाईमार्गसम्बन्धी अन्तरक्रिया पनि राखिने प्रतिष्ठानकी महासचिव क्रिस्मा शर्माले गराइन् ।

Page 28
हेल्लो शुक्रवार

ट्रेन्ड चेन्ज

दसैं मनाउने चलन कसरी परिवर्तन भइरहेको छ त ?
- राजु घिसिङ

नयाँ लुगा लाउनुपर्‍यो भने दसैं कुर्नुपर्ने जमाना पनि थियो । त्यो पनि सेतो सर्ट र कालो पाइन्ट । अर्थात् स्कुल ड्रेस । तर त्यसैमा खुबै रमाइलो गरिन्थ्यो । यस्तो कुरा अचेल कुनै कथाजस्तै लाग्छ, जुन श्रुति परम्परामै सीमित भइसकेको हुन्छ ।खल्तीमा दाम छ भने जुनसुकै बेला पनि चाहिएको वस्तु किनेर लाउन सकिन्छ । दुई, चार, पाँच, सात सय, हजार वा हजारौं रुपैयाँ जति नै परोस् क्वालिटीअनुसारका कपडा यहींका बजारमा पाइन्छन् । स्कुल ड्रेस फेर्न दसैं नै कुर्नुपर्ने अवस्था छैन । र, जुनसुकै बेला पनि फेसनेबल बन्ने अवसर आइसकेको छ । खालि यत्ति हो कि आफूले बजेटको व्यवस्थापन गर्न सक्नुपर्छ ।दसैंमा अलि लामै बिदा हुन्छ । प्राय: स्कुल, कलेज त दसैंदेखि तिहारसम्मै बिदा दिने चलन छ । त्यसैले पहिलाजस्तो दसैंमा घर रंगाउने, रमाइलो गर्ने, दक्षिणा थाप्ने र नयाँ ड्रेस लाउने परम्परा इतिहास भइसक्यो । हाम्रा लागि पनि वर्ष, महिना, साता त के, दिनको २४ घण्टा पनि कम लाग्न थालेको छ । त्यसैको बदलाव हुनुपर्छ, दसैंको फुर्सदिलो समयमा कुनै उपयोगी काम गर्ने चलन बढेको छ । कानमा जमरा, निधारमा रातो (सेतो पनि) टीका लगाएर हातमा दक्षिण थाप्दै दसैं मनाउने चलनलाई विशेषगरी युवा पुस्ताले नै बढी परिवर्तन गरिरहेको छ ।बहुदलीय प्रजातन्त्रको आगमनसँगै देशको ठूलो संख्यामा युवा जमातको लस्कर मध्य पूर्वी अरबतिर लाग्न थालेको थियो । त्यसपछि आएको दसैं सम्झेर लोक दोहोरो गाउँदै फोनमा घर–परदेश रुने–रुवाउने चलन पनि अब पुरानो भइसक्यो । यस डिजिटिल युगमा जो जहाँ छन्, त्यहीं चाडपर्व मनाउने, रमाइलो गर्ने संस्कृति विकास भइरहेको छ । असी वर्षका बा–आमाले गोबरले लिपिएको घरमा बसेर अस्ट्रेलिया, अमेरिका, युरोपको मोडर्न लाइफ स्टाइलमा भिजिसकेका सन्ततिलाई भिडियो च्याटमार्फत साइतअनुसार टीका लाउन निर्देश गर्दै आशीर्वाद दिनु अब नौलो भएन । यसले फेसबुक, ट्वीटर र इन्स्टालाई दसैंमय बनाउने गर्छ ।

शत्रु नाश होऊन्, गति वायुको जस्तो होस्, धन दशरथको जस्तो होस्, चिरञ्जीवी भएस्... भनी आशीर्वादका वाक्यहरू पनि धेरै लम्ब्याउनुपर्ने छैन किनभने अहिलेका मान्छेमा समय अत्यन्तै कम छ । सडकदेखि सपिङ मलसम्म जो पनि हतार गरिरहेका देखिन्छन् । अमेरिकाको भिसा पाऊन्सम्मका आशीर्वाद पनि सुनियो तर अमेरिका ताक्नेहरू डोनाल्ड ट्रम्पसँग झस्किएका छन् । त्यसैले पुरानै तर एउटै वाक्यको आशीर्वाद दिए पनि काफी हुने देखिएको छ– चन्द्रमा दाहिना होऊन् (कुनै कुरा नरोकिने) ।सन्तानले डाँडाकाँडा ढाकुन्, दुबो मौलाएझैं मोलाऊन् भनेर दिइने आशीर्वादलाई अब अर्को चस्माले हेर्ने समय आइसकेको छ । भौगोलिक रूपमा फैलिएको क्षेत्रको तुलनामा जनसंख्या धेरै भएको क्षेत्र नै ठूलो बजारमा स्थापित भइसकेको छ । जमिनदारलाई धनाढ्यमा तेल र ग्यास उद्योगले विस्थापित गरेका थिए । तेल–ग्यास उद्योगलाई टेक्नोलोजी बिजनेसले पछाडि पारिसकेको छ । एप्पल, सामसुङ, गुगल, अमेजन विश्वकै धनाढ्य कम्पनी भइसकेका छन् । सानो रूपमा भए पनि यस उद्योगमा नेपाली उपस्थिति बढिरहेको छ । त्यसैले यस दसैंको आशीर्वाद नयाँ आइडियाको बिजनेस उत्तम हुन्छ किनभने अहिलेका युवाको चाहना जागिर खाने होइन, नयाँ आइडिया ल्याएर बिजनेस गर्ने/गराउने हो ।

नीलो आकाशमा चंगा चेट, चच हुइँ गर्दै केहीबेरका लागि भए पनि जमिन छाड्दै खेलिने पिङ त चलेकै छन् । परम्परागत परिकार बनाएर खाने चलन पनि यथावत् छ । यसमा दशकयता थपिएको छ– घुमफिर । हाइकिङ, ट्रेकिङ वा सौराहा, पोखरालगायत मनोरम स्थलको भ्रमणले माइन्ड फ्रेस बनाउँछ, जसले नयाँ आइडिया वा राम्रो काम गर्ने ऊर्जा बढाउँछ । त्यसैले दसैंमा टीका लगाएर घुम्न निस्कने नेपाली युवाको संख्या बढ्दो छ । उनीहरूको गन्तव्य बैंकक, सिंगापुर, मलेसिया, दुबई पनि हुन थालिसकेको छ । यसले नेपालीको आय बढेको संकेत पनि गर्छ ।
बिजेनस गर्नेका लागि कमाउने अवसरका रूपमा पनि रहेको दसैंमा धेरैले ग्याजेट फेर्ने, बुक पढ्ने, म्युजिक सुन्ने, खेल्ने वा अरू नै केही गर्ने योजना पनि बनाउने गर्छन् । दसैं हिन्दु पर्व हो तर यो चाड हिन्दु धर्मावलम्बीमा मात्र सीमित छैन । दसैंले नछोएको कुनै पनि समुदाय छैन । तर आ–आफ्ना मौलिक पहिचान खोज्दै जाने क्रममा दसैंलाई भिन्न वा आफ्नै तरिकाले मनाउने पनि बढेका छन् । विभिन्न जनजातिमा सेतो टीका लगाउने र नलगाउने थुप्रै छन् तर नातेदार भेटघाट गर्ने अवसर भने यसैलाई बनाएका हुन्छन् ।

Page 29
हेल्लो शुक्रवार

रोमान्टिक फिल्म

१ । टाइटनिक
सन् १९९७

फरक वर्गका केटाकेटीको सदाबहार प्रेमकथा हो यो । जेम्स क्यामरुन निर्देशित यस फिल्ममा लियोनार्डो डिकाप्रियोलाई गरिब आर्टिस्ट र केट विन्स्लेटलाई सम्पन्न केटीको भूमिकामा देख्न पाइन्छ । टाइटनिक पानीजहाजको सत्य दुर्घटनाको फिक्सनल लभ स्टोरी भएकाले पनि यो फिल्म निकै चर्चित भयो । सन् १९९७ मा यसले ११ विधामा ओस्कार अवार्ड जितेको थियो । रोमान्टिक फिल्म हेर्न चाहनेका लागि ‘क्याप्सुल’ समान छ टाइटनिक ।

 

२। अ वाल्क टु रिमेम्बर
सन् २००२

यो युवा पुस्तामा एकदमै लोकप्रिय फिल्ममध्ये एक हो । मोडर्न सोसाइटीमा बिग्रिएको केटा प्रेममा परेपछि आउने परिवर्तनको कथा भन्छ यसले । शेन वेस्ट र म्यान्डी मुरेको चरित्र झट्टै आत्मसात् गर्न सकिन्छ । एडम स्याकमन निर्देशित यस फिल्मले जीवनमा प्रेमको महत्त्व दर्शाउँदै प्रेमप्रति सकारात्मक भाव पैदा गर्छ ।

 

३ । द नोटबुक
सन् २००४

अर्को कालजयी लभस्टोरी हो यो । अल्जाइमर भएकी बूढी श्रीमतीलाई बूढाले उनीहरूकै प्रेमकथा नोटबुकबाट पढेर सुनाउँछन् । केटा गरिब र केटी धनी भएकाले मायालाई टिकाउन उनीहरूले कठोर त्याग गरेका हुन्छन् । निक क्यासभेटले निर्देशन गरेको यो फिल्मले मायामा प्रतिबद्धता डिमान्ड गर्छ । ‘फास्टफुड लभ’ को जमानामा आइपुगेको आजको पुस्ताले हेर्नैपर्ने फिल्म हो यो ।

 

४ । फाइभ हन्ड्रेड डेज अफ समर
सन् २००९

एउटी केटी छे, जसलाई प्रेममा फिटिक्कै विश्वास छैन । त्यही केटीको प्रेममा परेको केटाको कथा हो यो । जोडी आफंैले रोज्ने हो कि भावीले लेखेको हुन्छ ? निर्देशक मार्क वेबले फिल्ममा यही प्रश्नलाई डिल गरेका छन् । यसको कथा निकै रमाइलो शैलीमा भनिएकाले पनि जो कोहीको मन जित्छ । अझ प्रेमप्रति वितृष्णा जाग्नेले त हेर्नैपर्ने फिल्म हो यो ।

 

५ । बिस्ट्ली
सन् २०११

मिथमाथि आधारित यस फिल्ममा एउटा केटालाई ‘तैंले एक वर्षभित्र माया गर्ने मान्छे भेटाइनस् भने बर्बाद हुन्छ’ भन्ने सराप दिन्छ । अनि कलेज पढ्ने केटा त्यही मायाको खोजीमा लाग्छ । निर्देशक डानियल बान्जले एउटा मान्छेको जीवन पूर्णताका लागि प्रेम कतिको महत्त्वपूर्ण हुन्छ भन्ने देखाउने प्रयास गरेका छन् । प्रेम गर्ने जो कोहीका लागि प्रिय हुन सक्छ यो फिल्म ।

 

६ । रिमेम्बर मी
सन् २०१०

प्रेमले आत्मविश्वासी र बलियो त बनाउँछ नै । तर सम्हाल्न जानिएन भने त्यही सशक्त पक्ष कमजोरी हुन पनि समय लाग्दैन । यही यथार्थलाई पर्दामा बुनेका छन् निर्देशक एलेन कुल्टरले । मुख्य पात्रद्वय रोबर्ट प्याटिसन र इमिल डे रेभिन पारिवारिक वियोगबाट गुज्रिएका हुन्छन् । प्रेमलाई दिगो र बलियो बनाउन खोज्नेका लागि रिमेम्बर मीले मन जित्न सक्छ ।

 

७ । ब्लु भ्यालेन्टाइन
सन् २०१०

योचाहिँ विवाहित जोडीको प्रेमकथा हो । त्यो पनि श्रमिक वर्गको । केटा पेन्टर हुन्छ, केटी नर्स । तर प्रेमको शक्तिले केटाभित्रको क्षमता पहिल्याउन सफल हुन्छिन् युवती । जीवन सुखमय बन्छ । विवाहित जोडीले आफ्नो प्रेमलाई बचाउन गर्नुपर्ने त्यागको वरिपरि घुमेको यस फिल्मलाई डेरेक सियानफ्रेन्सले निर्देशन गरेका हुन् । यो हेर्दा मन आनन्दित हुन्छ ।

 

८ । माई स्यास्सी गर्ल
सन् २००८

संयोगले भेटेको जोडीको प्रेमले स्थायित्व पाउला त ? त्यसमाथि केटा लद्दु टाइपको हुन्छ, केटी स्मार्ट । निर्देशक यान सामुयलले बाहिरबाट हेर्दा यस्तै नसुहाउने केटाकेटीले पनि एकअर्कालाई बुझ्ने समय दिएमा प्रेम जागृत हुन्छ भन्ने देखाउन खोजेका छन् । साथै हिजो भाग्यमा जे लेखेको थियो, त्यो पूरा भइहाल्छ भन्ने सन्देश दिइएको छ । यही फिल्मबाट ‘इन्स्पायर्ड’ भएर आलोक नेम्वाङले सानो संसार बनाएका थिए ।

 

९ । हाउ टु लुज अ गाय इन टेन डेज
सन् २००३

यो कमिक लभ स्टोरी हो । जहाँ दस दिनमा कसैलाई पाउने र घुमाउने कथा भनिएको छ । बाजी राखेको भरमा केटी पट्याउन खोज्छ मूल पात्रले । आजको पुस्ताको प्रेममा भावनाभन्दा लहडको भूमिका अहम् हुन्छ भन्ने देखाउन खोजिएको छ । आधुनिक प्रेममाथिको निर्देशक डोनाल्ड पेट्रीको थोरबहुत व्यंग्यका रूपमा पनि अथ्र्याउन सकिन्छ यो फिल्म ।

 

१० । लिप एयर
सन् २०१०

आइरिस परम्पराअनुसार ‘लिप डे’ मा कुनै केटीले प्रस्ताव राख्यो भने केटाले हमेसा स्वीकार गर्छ/गर्नुपर्छ । सोही कारण फिल्मकी मुख्य पात्र अन्ना ब्राडी आफ्नो प्रेमी जेरेमीलाई पर्पोज गर्न बोस्टनबाट डब्लिन यात्रा गर्छिन् । तर यात्राका क्रममा विभिन्न अवरोध आउँछ । तैपनि हार मान्ने त कुरै भएन । निर्देशक आनन्द टुकरले मायालाई उत्सवका रूपमा मनाउन एउटा केटीले लिएको चुनौतीलाई निकै रमाइलो शैलीमा पर्दामा बुनेका छन् ।
स्रोत : आईएमडीबी

हेल्लो शुक्रवार

कस्तो स्मार्टफोन चाहियो ?

 दसैंमा हामी नयाँ लुगा मात्रै किन्दैनौं, नयाँ ग्याजेट पनि किन्ने योजना बनाउँछौं । नेपालमा अहिले आधा दर्जन बढी ब्रान्डका दर्जनौं स्मार्टफोन उपलब्ध छन् । तर, ती सबैमध्ये हामीलाई उपयुक्त हुने छनोट गर्न पनि गाह्रो हुन्छ किनकि स्मार्टफोन कसरी छान्ने ? पसल–पसल धाएर आफूलाई उपयुक्त स्मार्टफोन छान्नु पनि समयका हिसाबले निकै खर्चिलो हुन्छ । नेपालमा ४० हजार रूपैयाँभन्दा तलका स्मार्टफोन अत्यधिक बिक्री हुन्छ । यस मूल्यमा कस्ता मोबाइल उपयुक्त हुन सक्छ त ?


१ । सामसुङ ग्यालेक्सी ए सेभेन


स्क्रिन : ५.७ इन्च (एमोलेड डिस्प्ले)
क्यामरा : १६/१६ मेगापिक्सेल
र्‍याम/स्टोरेज : ३ जीबी/३२ जीबी (एक्प्यान्डेबल)
प्रोसेसर : १.९ गिगाहर्ज अक्टा–कोर
सिम : २
ब्याट्री : ३६०० एमएएच
मूल्य : रु. ३९,९००


२ । सामसुङ ग्यालेक्सी जे सेभेन प्रो


स्क्रिन : ५.५ इन्च (सुपर एमोलेड)
क्यामरा : १३/१३ मेगापिक्सेल
र्‍याम/स्टोरेज : ३ जीबी/३२ जीबी (बढाउन मिल्ने)
प्रोसेसर : १.६ गिगाहर्ज अक्टाकोर
सिम : २
ब्याट्री : ३६०० एमएएच
मूल्य : रु. ३२,९००


३ । वान प्लस थ्री


स्क्रिन : ५.५ इन्च (एमोलेड)
क्यामरा : १६/८ मेगापिक्सेल
र्‍याम/स्टोरेज : ६ जीबी/६४ जीबी
प्रोसेसर : २.१ गिगाहर्ज क्वाड कोर
सिम : २
ब्याट्री : ३,००० एमएएच
मूल्य : रु. ३४,९००


४ । ओप्पो एफथ्री


स्क्रिन : ५.५ इन्च (एचडी)
क्यामरा : १३/१६ मेगापिक्सेल
र्‍याम/स्टोरेज : ४ जीबी/६४ जीबी (बढाउन मिल्ने)
प्रोसेसर : १.५ गिगाहर्ज अक्टाकोर
सिम : २
ब्याट्री : ३२०० एमएएच
मूल्य : रु. ३२,९९०


५ । जियोनी एस सिक्स प्रो


स्क्रिन : ५.५ इन्च
क्यामरा : १३/८ मेगापिक्सेल
र्‍याम/स्टोरेज : ४ जीबी/६४ जीबी
प्रोसेसर : १.८ गिगाहर्ज अक्टाकोर
सिम : २
ब्याट्री : ३१३० एमएएच
मूल्य : रु. ३४,९९९


६ । जियोनी ए वान


स्क्रिन : ५.५ इन्च
क्यामरा : १३/१६ मेगापिक्सेल
र्‍याम/स्टोरेज : ४ जीबी/६४ जीबी
प्रोसेसर : १.८ गिगाहर्ज अक्टाकोर
ब्याट्री : ४०१० एमएएच
मूल्य : रु. २९,९९९

 

७ । सोनी एक्सपेरिया एक्स


स्क्रन : ५ इन्च
क्यामेरा : २३/१३ मेगापिक्सेल
र्‍याम/स्टोरेज : ३ जीबी/६४ जीबी
प्रोसेसर : हेक्साकोर स्न्यापड्रयागन ६५०
ब्याट्री : २६३० एमएएच
मूल्य : रु. ३८,५००


८ । साओमी एमआई फाइभ


स्क्रिन : ५.१५ इन्च
क्यामेरा : १४/४ मेगापिक्सेल
र्‍याम/स्टोरेज : ३ जीबी/३२ जीबी
प्रोसेसर : १.८ गिगाहर्ज स्न्यापड्रयागन ८२०
सिम : २
ब्याट्री : ३००० एमएएच ब्याट्री
मूल्य : रु. ३९,९९९


९ । साओमी रेडमी नोट फोर


स्क्रिन : ५.५ इन्च
क्यामेरा : १३/५ मेगापिक्सेल
र्‍याम/स्टोरेज : ४ जीबी/६४ जीबी
प्रोसेसर : २ गिगाहर्ज अक्टाकोर
सिम : २
ब्याट्री : ४१०० एमएएच
मूल्य : रु. २८,४९९


१० । हुवावे जीआर फाइभ


स्क्रिन : ५.५ इन्च
क्यामेरा : १२/२ मेगापिक्सेल
र्‍याम/स्टोरेज : ३ जीबी/३२ जीबी
प्रोसेसर : अक्टाकोर किरिन ६५५
सिम : २
ब्याट्री : ३३४० एमएएच
मूल्य : रु. ३५,०००


नेपाली बजारमा उपलब्ध ४० हजारभन्दा कम मूल्य पर्ने यी स्मार्टफोनको सूची यिनको फिचरको आधारमा तयार पारिएको हो ।
स्मार्टफोन कुन प्रयोजनका लागि किन्ने भनेर विचार पुर्‍याउने हो भने ३० हजारभन्दा कम मूल्यका पनि प्रशस्त विकल्प छन् । नेपालमा महँगो मूल्यका मोबाइल पनि चल्तीमै छ । नेपालमा उपलब्ध केही महँगा स्मार्टफोन :

ड सामसुङ ग्यालेक्सी ए एट प्लस :
रु. ९१,९००
ड सामसुङ ग्यालेक्सी एस एट : रु. ८१,९००
ड आइफोन सेभेन प्लस : रु. १,१९,००० (१२८ जीबी)
ड हुवावे पी टेन प्लस : रु. ७९,०००
ड ओप्पो एफथ्री प्लस : रु. ५४,९९०
ड वानप्लस फाइभ :
रु. ६९,५०० (१२८ जीबी)
ड एमआई सिक्स :
रु. ५४,९९९ (६४ जीबी)
ड एमआई मिक्स :
रु. ९४,९०० (२५६ जीबी)
ड जियोनी ए वान प्लस :
रु. ४४,९००
डसोनी एक्पेरिया एक्सजेड प्रिमियम :
रु. ८०,५००

Page 30
हेल्लो शुक्रवार

जिन्दगी घुमाइ

तिमालका दावा लामा ट्रेकिङ गाइड हुन् । झन्डै साढे दुई दशकअघि भरियाका रुपमा यात्रा थालेका उनी स्वदेश अनुभवबारे लेख्छन् :

 यात्रारहित जिन्दगी कल्पना गर्न सकिएला ? अहँ असम्भव । मानिसहरू थाहा नपाई पनि घुमघामसँग जोडिएकै हुन्छन् । जस्तो: म काभ्रेको तिमालबाट सिन्धुलीको दुम्जा स्कुलमा आठ कक्षा पढ्दै थिए । दसै–तिहारमा हेलम्बुको पुग्ने मौका पाए । बरालिँदै फ्रेन्चहरूको पदयात्रामा पनि समेल भए । त्यो कुनै योजना थिएन ।
म ११ सन्तानमध्ये जेठो छोरो भएकाले बिदामा बुबाले ‘हिँड म सित’ भनेपछि यात्रामा निस्केको थिएँ । त्यो पदयात्रामा
बा भरिया थिए । मलाई पनि बाले सानो भारी बोकाउनुभएको थियो । त्यहींबाट गाउँमा बोकिने भारी र टुरिस्टको भारी जानेको थिएँ ।
जन्मस्थल मेच्छे गाउँमा स्कुल जाने बहानामा कति दिन रोशी खोलामा माछा मारेरै कटाएको थिएँ त कहिले डाँडाहरू डुलिरहेको थिएँ । हेलम्बुको त्यो ट्रेक गरेको पनि २४ वर्ष भयो । मैले एसएलसी दिँदा गाउँका अल्लारेहरू स्वेच्छा वा बाध्यताले छापामार भइसकेका थिए । एक बहिनीको ज्यान बुलेटको लियो । मचाहिँ कलेज पढ्न काठमाडौं छिरें । त्यसैबेला मुस्ताङ पुगेपछि यात्राका किसिम पनि बुझें ।


घुम्नु भनेको चुनौती सामना गर्नुपर्छ । नयाँ परिवेश, अपरिचित मान्छे, भिन्न संस्कृति, खानपान, जीवनशैलीको फरक अनुभव सिकाइकै लागि पनि यात्रा गर्नुपर्छ । प्राकृतिक सौन्दर्यताको प्रत्यक्ष दृश्यावलोकन गर्न र नयाँ र फरकखाले भूगोल देख्न पनि घुम्नैपर्छ । घुमघामले मान्छेको सोचविचारलाई पनि फराकिलो पार्छ । तनावले जेलिएको जिन्दगीलाई पनि फ्रेस बनाउँछ ।
स्कुलमा कहिल्यै राम्रो पढ्न नसकेको मेरा लागि यात्रा त सिकाइको गतिलो माध्यम बन्यो । त्यहीबेला मैले अंग्रेजी भाषा जान्नैपर्ने बुझें । अंग्रेजी पढ्न थालें । कम्प्युटर सिकें । यसका निम्ति मासिक ५० डलर सहयोग पनि जुट्यो । बानेश्वर क्याम्पस पढ्दा मलाई नियमित फी तिर्न पनि मुस्किल थियो । मुस्ताङ जाँदा म जसको भरिया थिएँ, उनैले मलाई २६ महिनासम्म अध्ययन खर्च पठाइदिए । आईए पास गरियो । र, आफ्नो संसार पर्यटन क्षेत्रलाई नै बनाएँ ।


सगरमाथा आधारशिविर कतिपल्ट पुगें भन्ने हेक्का छैन, त्यस्तै ५०–५५ हुनुपर्छ । अन्नपूर्ण, कञ्चनजंघा, मकालु हिमालको बेसक्याम्प पनि पुगेको छु । अन्नपूर्ण राउन्ड, पुनहिल, सगरमाथा हाई–पास, रोल्वालिङ, तिमाल महाभारत ट्ेरल, शैलुङ, शिवपुरी, चितवन लगायतका थुप्रै गन्तव्य भ्याइसकेको छु । यसक्रममा त्यो भरिया केटो गाइड भइसकेको छ । तर स्वदेश घुमाई अझै सकिएको छैन । अब नेपालमा मैले मुगुको रारा र शे–फोक्सुन्डो यात्रा गर्न मात्र बाँकी छ । खुम्बु क्षेत्रको सगरमाथा यस्तो गन्तव्य हो, जहाँ जतिपल्ट पुगेर पनि धित नै मर्दैन । यस क्षेत्र संसारका लाखौं मान्छेले जीवनमा ‘एकपटक जाने छु’ भनी बिस–लिस्टमा राख्ने मुख्य गन्तव्य हो ।
मेरा बा पहिलोपटक भारी बोकेर सगरमाथा आधारशिविर जानु हुँदा कमिज सुरुवाल, चप्पल, ढाकाटोपीमा हुनुहुन्थ्यो रे । अहिले त्यस्तो कहाँ रह्यो र ?
स्विट्जरल्यान्डमा जस्तो डाइनिङ भएका रिसोर्ट छन् । माइनस ५० डिग्रीसम्म थेग्ने स्लिपिङ ब्याग आइसके । उहिले जस्तो गाइडसँग रेशम फिरिरी गाउन मादल भने हुँदैन । अहिले ब्लुतुथ भएका स्पिकर नबोक्ने भरिया, गाइड छैनन् । उच्च हिमाली भेगको यात्रामा जाँदै गरिने रमाइलो क्षणभरमै सोसल मिडियाबाट सेयर गर्न पाइने भएकाले अहिलेको रमाइलो डिजिटल वल्र्डमा पुगिसक्यो । त्यसैले बिदामा घुम्न निस्कने चलन नेपालमा पनि बढ्दै गएको छ । घुम्नका लागि उपयुक्त अवसर दसैं नै हो ।

पुग्नैपर्ने गन्तव्य
रारा/खप्तड
केही साताको पदयात्रामा जानुपर्ने भए रारा र खप्तड उत्कृष्ट गन्तव्य हुन् । ३/४ हजार मिटर उचाइका धेरै चुचुराहरूसँगै फराकिला मैदान हेर्न सकिन्छ ।

शे–फोक्सुन्डो/माथिल्लो मुस्ताङ
बौद्ध र तिब्बतियन संस्कृतिको बाहुल्यता भएका यस क्षेत्र नदीहरूको मुहान पनि हुन् । धेरै पास (नाका) हरू छन् । अर्को आकर्षण यार्चागुम्बु हो । रिम्पोचे र ठूला धर्मगुरुले यस क्षेत्रमा जन्म लिएका थिए ।
पुनहिल
छोटो बिदा भएकाहरूका लागि पुनहिल उत्कृष्ट गन्तव्य हो । यही रुटमा घोडेपानी, घान्द्रुक पनि पर्छन् । दुई/तीन दिनमै ३२ सय मिटरको उचाइमा पुग्न सकिन्छ । सनराइज, सनसेटसँगै अन्नपूर्ण र धौलागिरिबीचको कालीगण्डकी खोंचले मोहित बनाउँछ ।


अन्नपूर्ण बेसक्याम्प
चार/पाँच दिनमै ग्लेसियर साइडमा टेक्न पाइन्छ । गुरुङ गाउँहरू हुँदै पुगिने यो थलोको प्राकृतिक सौन्दर्य बिछट्टै छ । ३६० डिग्रीमा हिमालहरू हेर्न सकिन्छ ।


चितवन
हिमाली भेगमा रुचि नभएकाहरूका लागि नेपालकै पहिलो चितवन राष्ट्रिय निकुञ्जले आकर्षित गर्दछ । यहाँ मनसुन, वनस्पति, जीवजन्तु, चरा, थारू जनजीवनलाई नजिकबाट नियाल्न पाइन्छ ।


अन्नपूर्ण सर्किट
हिमालपारिको गाउँ हेर्ने रुट हो यो । त्यहाँबाट हिमालचुलीहरू दक्षिणतर्फ
फर्केका छन् । धर्मगुरुहरूले पनि यहाँ
ध्यान गरेका थिए । विश्वकै अग्लो
स्थानमा रहेको तिलिचो ताल यहीं पर्छ । नेपालमा ट्रेकिङ कल्चर यहींबाट सुरु भएको मानिन्छ ।


शिवपुरी हाइट

काठमाडौं उपत्यकाबाट केही घण्टाको यात्रापछि उत्तरतर्फ फर्केका हिमाल हेर्न सकिने गन्तव्य । काठमाडौं वरिपरिका डाँडामध्ये मेडिटेसनका लागि सबैभन्दा उचित र अग्लो ठाउँ । बाक्लो जंगल । शान्त वातावरण ।


सगरमाथा बेसक्याम्प
सगरमाथाको शिखरमा पाइला राख्ने पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको सफलतापछि यस खुम्बु क्षेत्र विश्वमै चर्चित बन्यो । चुचुरोमा जो पुग्न सक्दैनन्, उसका लागि ५३ सय मिटरको बेसक्याम्प पुग्ने लक्ष्य हुन्छ ।


गोक्यो रि
फोटोग्राफीमा सौखिनहरूका लागि उत्कृष्ट ल्यान्डस्केप हो गोक्यो रि । संसारमा यस्तो ल्यान्डस्केप दुर्लभै भेटिएला । एकै नजरमा सामन्ने सगरमाथा हिमशृंखला हेर्न सकिन्छ ।


कञ्चनजंघा
नेपालको दुर्गम भेगको अनुभव
लिन यो रुट बेस्ट डेस्टिनेसन हो ।
प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण यस क्षेत्र दुर्लभ रेडपान्डाको बासस्थान
पनि हो ।

हेल्लो शुक्रवार

दसैंलाई बुक्स

आहा ! दसैं । आहा ! बिदा । अनि यो बिदामा कोर्सबाहेकका किताबहरू ढिट मर्ने गरी पढ्न पाइने समय । यो बिदामा के, कुन किताब पढ्ने भइराखेको छ भने निम्न १० किताब पढ्न सिफारिस गर्दछौं :

१। दिज फाइन लाइन्स
नेपाली युवा स्लाम कवयत्रीहरूद्वारा अंग्रेजीमा लेखिएका कविताहरूको संग्रह ‘दिज फाइन लाइन्स : पोइम्स अफ रिस्ट्रैन अन्ड अब्यान्डन’ पछिल्लो समयको नेपाली नारीवादका आवाजहरू सुन्न पढ्नै पर्ने किताब हो । संग्रहमा कवयत्रीहरूले आ–आफ्ना अनुभवबाट वर्तमान समयकालको नेपाली समाज र सम्बन्धलाई कसरी बुझिराखेका छन्, कसरी परिभाषित गर्दैछन् र कस्तो हुनुपर्छ भन्ने परिकल्पना गरेका छन् भन्ने स्पष्ट बुझ्न सकिन्छ । इतिशा गिरीले सम्पादन गरेको यो संग्रहमा चर्चित स्लाम पोइट उज्जला महर्जन र युक्ता वज्राचार्यका कविता पनि पढ्न पाइन्छ ।

२। स्योर्ली यु आर जोकिङ, मिस्टर फेनम्यान १
यो दसैंमा कसैको अटोबायोग्राफी पढ्न मन छ भने ‘स्योर्ली यु आर जोकिङ, मिस्टर फेनम्यान १ एड्भेन्चर्स अफ अ क्युरियस क्यारक्टर’ पढ्नुस् । सन् १९६५ को नोबल प्राइज (फिजिक्स) विजेता अमेरिकी वैज्ञानिक रिचर्ड फिलिप्स फेनम्यानको जीवनी यति रसिलो र हँसिलो छ कि अरू अटोबायोग्राफी पढ्दा लाग्ने अल्छीपन यसमा हाँसेरै बित्नेछ । फेनम्यानको उपद्रोपन, उनको बौद्घिक क्षमता र ‘क्युरियस नेचर’ ले भरिएको यो किताबले पाठकलाई सुरुदेखि अन्तिम पेजसम्मै मनोरञ्जन दिनेछ । विशेष त फेनम्यानले समकालीन व्यक्तित्वहरूको अफिस ड्रयरदेखि सैन्य–गोप्यता रहेका सेफ (ड्रयर) को ताला सजिलै खोलेका क्षणमा रमाइलो लाग्नेछन् । आइन्स्टाइनजस्ता प्रख्यात वैज्ञानिकहरूसँगको रोचक भेटवार्ताका साथै उनको म्युजिक तथा पेन्टिङ यात्रामा भेट भएका सर्वसाधारण व्यक्तित्वहरूका साथै भएका अन्तरक्रियाहरू पनि अति
रोचकपूर्ण छन् ।

३। इक्वाएल राइट्स
ब्रिटिस उपन्यासकार टेरी प्राचेटको डिस्कवल्र्ड सिरिजका ४१ कमिक फ्यान्टासी किताबमध्ये ‘इक्वाएल राइट्स’ धेरै रुचाइएको किताब हो । यसमा पुरुषहरूले मात्र सिक्न मिल्ने विजार्ड ज्ञान सिक्न विचज्ञानमा पोख्त भएकी सानी केटी इस्कारिया (इस्क) स्मिथको संघर्षलाई प्रस्तुत गरिएको छ । इस्कलाई विचज्ञान सिकाउने हजुरआमा ग्रयानी वेदरवाक्सको कथाले किताबलाई थप उत्कृष्ट बनाउँछ । ‘विजार्ड’ तथा ‘विच’ हरूको जादुमय दुनियाँ डिस्कवल्र्डको कथा ह्यारी पोटर मनपराउनेहरूका लागि कताकता चिनिराखेको दुनियाँमा पुगेझंै हुनेछ । कुन किताबबाट डिस्कवल्र्डको यात्रा सुरु गर्ने भन्ने चिन्ता भए अनलाइनमा ‘द डिस्कवल्र्ड रिडिङ अडर गाइड २.०’ हेर्न नभुल्नुहोला ।

४। द क्याचर इन द राय
चर्चित उपन्यासकार हारुकी मुराकामीको उत्कृष्ट पाँचमा पर्ने जेडी सालिङ्गरद्वारा लिखित चर्चित उपन्यास ‘द क्याचर इन द राय’ टिनएजरहरूले पढ्नै पर्ने किताबमा पर्छ । यसलाई एकदमै मनपराउने जमात् विश्वभर भएझैं मनै नपराउनेको पनि कमी छैन । टिनएज अवस्थाको निश्चलता, दुविधा, एलिनेसन, अस्तित्वमा उठ्ने प्रश्नका साथै व्यक्तिगत पहिचानलाई उपन्यासको प्रमुख पात्र होल्डन काउफिल्डबाट लेखकले उत्कृष्ट रूपमा प्रस्तुत गरेका छन् । यो उपन्यास पढ्दा हामीले आफूभित्र कतै न कतै होल्डन भेट्छौं ।

५। मिसेज फनिबोन्स
बलिउड नायिका ट्वीङ्कल खन्नाको चर्चित किताब ‘मिसेज फनिबोन्स’ धेरैले ‘फेमिनिस्ट’ विचारहरू भएको भन्दै रुचाएका छन् । हुन पनि आफ्ना व्यक्तिगत अनुभवलाई आधार बनाएर उनले महिला भएकैले दैनिक रूपमा भोगिने लैंगिक विभेदहरूलाई आफ्नो युनिक सेन्स अफ ह्युमरबाट सुन्दर रूपले प्रस्तुत गरेकी छन् । यो किताबमा उनले ‘केही सत्यतथ्य, थोरै कल्पना...’ बाट पात्रहरू लिएर आफ्नो जीवन र विचार पाठकसामु प्रस्तुत गरेकी छन् । यसले नायिका ट्वीङ्कललाई जान्ने थप अवसर त मिल्छ नै पढ्दासम्म धेरै रमाइलो पनि हुन्छ ।

६। द बुक थिफ
अस्ट्रेलियाली लेखक मार्कस जुसाकको उत्कृष्ट उपन्यास ‘द बुक थिफ’ पढ्न मन पराउनेहरूका लागि प्रफेक्ट उपहार हो । उपन्यासमा दोस्रो विश्वयुद्घताका जब हिटलरका अनुयायीहरूले किताब जलाउँदै थिए, त्यतिबेला १० वर्षे लिसल मेमिङ्गरले ती किताब चोर्दै पढ्ने गर्छिन् । युद्घले गरिरहेको असरबीच पढ्नका लागि लिसलले गरेको संघर्षले उनलाई पाठकबीच प्रिय पात्र बनाएको छ भने किताबलाई उत्कृष्ट ।

७। जेनोफोब्स गाइड टु द अमेरिकन्स
अमेरिकामा पढ्ने या घुम्न जाने योजना बनाउनु भएकाहरूले पढ्नैपर्ने किताबमा पर्छ– ‘जेनोफोब्स गाइड टु द अमेरिकन्स’ । अमेरिकीहरूलाई बुझ्न, कल्चरल शक हुनबाट बच्न र के गर्न हुने या नहुनेबारे जान्न अमेरिका जानुभन्दा पहिले जरुरी छ । यसले अमेरिकी सामाजिक, सांस्कृतिक, राजनीतिक विचार तथा व्यवहारबारे जानकारी दिन्छ तर यति धेरै मिठास र ठट्टाका साथ प्रस्तुत गर्छ कि थप पढ्न मन लागिरहन्छ । ‘जेनोफोब्स गाइड...’ सिरिज अरू ट्राभल बुक जस्तो होइन । त्यसका लागि लोनली प्लानेट सिरिज छँदैछ । तर, जुनै पनि देशमा जानुअघि (कहिल्लै नजाने भए पनि) ‘जेनोफोब्स गाइड...’ पढ्न सुझाव छ । अरू केही नभए पनि रमाइलोका लागि ।

८। मी बिफोर यु
दसंै बिदामा रोमान्टिक उपन्यास नपढ्दा केही छुटेझैं लाग्छ भने जोजो मोयसको ‘मी बिफोर यु’ पढ्नुस् । यो उपन्यासमा रोमान्टिक कथामा पाइने सबै चीज छ : प्रेम, रोमान्स, हाँसो–आँसु, मिलन–बिछोड । सबै अरू कथामा जस्तै भए पनि ‘मी बिफोर यु’ को लुइसा र बिलबीच अस्वाभाविक वातावरणमा सुरु भएको प्रेमकथाले अलि बढी नै मन जित्नेछ ।

९। शिरीषको फुल
पारिजातको रचना हो शिरीषको फूल, जसलाई नेपाली साहित्यको इतिहासमा कोसेढुंगा मानिन्छ । ५२ वर्षअघि पहिलोपल्ट प्रकाशित यसले मदन पुरस्कार जितेको थियो । त्यसबेलाको पुरुषप्रधान नेपाली समाजमा सुकन्याको विद्रोही रूपलाई पारिजातले कलात्मक रूपमा यसमा उतारेकी छिन् । ‘द ब्लु मिमोसा’ का रूपमा निकालिएको अंग्रेजी संस्करण अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको कोर्समा पनि छ । नेपाली साहित्य फलो गर्दा पढ्नैपर्ने कृति हो यो ।

१०। घुम्ने मेचमाथि अन्धो मान्छे
साहित्यिक रचना कति शक्तिशाली हुन्छ भन्ने हेर्ने हो भने भूपी शेरचनका कविता संग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छ’ नपढी सुख छैन । यङ जेनेरेसनलाई भूपी र उनका रचना पुरानो लाग्न सक्ला तर उनका सिर्जनाहरू अहिले पनि जीवन्त छन्, कालजायी छन् । आधुनिक नेपाली काव्य जगत्का सर्वाधिक लोकप्रिय कवि हुन् उनी । उनका बुलन्द कविताहरू यसमा छन् ।
चियाको किट्लीबाट एउटा सूर्य उदाउँछ
सधैं रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ

Page 31
हेल्लो शुक्रवार

टप अन द चार्ट्स

- हिमेश

संगीतले खुसी र आनन्द दुवै दिन्छ । दसैंमा खुसियाली बटुल्नका लागि संगीत पनि एउटा कारण हुन सक्छ । सन् २०१७ मा चर्चित पश्चिमेली संगीतमध्ये लामो समय शीर्ष स्थानमा रहेका यी दस गीत हुन् । र, यसको आधार रहेको छ, चार्ट्समा यी गीतले बिताएको समय र यु ट्युबमा यसका श्रोता । यिनै गीत सुनेर दसैंमा खुसी हुने हो कि ?

 

१। डेस्पासिटो


थ्री मिलियन दर्शक पाएको पहिलो म्युजिक भिडियो हो, डेस्पासिटो । स्पेनी शब्द हो, डेस्पासिटो । अंग्रेजीमा अर्थ हुन्छ, स्लोली । प्युटोरिकोका गायक लुइस फोन्सोको यो गीतको भिडियोमा छन्, अर्का प्युटोरिकन र्‍यापर ड्याडी यान्की । यो पप गीतमा यौन सम्बन्धलाई रोमान्टिक शैलीले प्रस्तुत गर्ने प्रयास गरिएको छ । यो गीत केही देशमा प्रतिबन्धित पनि छ, विशेषत: मलेसियामा । तर यसलाई सन् २०१७ कै सर्वाधिक चर्चित र लोकप्रिय गीत बन्नबाट कसैले रोक्न सकेको छैन ।

२। आई एम द वन
डीजे खालिद । यी अमेरिकी म्युजिक पर्सनालिटी खालिद मोहम्मद यही नामले बढी चर्चित छ । सन् २०१७ मा निकै लोकप्रिय बनेको एउटा गीत उनकै रहेको छ, आई एम द वन । यसका लेखक उनी नै हुन् र यस गीतको भिडियोमा देख्न पाइन्छ, जस्टिन बिबरसँगै अरू धेरै गायक । अधिकांश चार्टमा नम्बर १ हुने डीजे खालिदको यो नै पहिलो गीत हो । आफ्नो दसौं स्टुडियो अल्बमा पुगेर डीजे खालिद यो गीतबाट अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पारे ।

३। द्याट्स ह्वाट आई लाइक


अमेरिकी गायक तथा गीतकार ब्रुनो मार्सको तेस्रो एल्बम ट्वान्टी फोर म्याजिकमा परेको गीत हो यो, ड्याट्स ह्वाट आई लाइक । यो हिपहप गीतमा आर एन्ड बीको विशेषता पाइन्छ । मार्सका धेरै गीत चार्टमा नम्बर १ भएका छन् । यसमध्ये यो गीत नम्बर १ भएको उनको सातौं गीत हो । पछिल्लो ग्रामी अवार्डको कार्यक्रमका अवसरमा पनि यसलाई प्रस्तुत गरिएको थियो । त्यसयता यो अधिकांश अवार्ड कार्यक्रममा हुनै पर्ने गीत हुन थालेको छ ।

४। वाइल्ड थट्स


डीजे खालिदको अर्को गीत । र, यो पनि उत्तिकै लोकप्रिय सावित भयो, सन् २०१७ मा । यो गीतलाई हिपहप रक गीतको सूचीमा राख्न सकिन्छ । यो गीत पनि पूरापुर ल्याटिन संगीतमा आधारित छ । यो गीतको सबैभन्दा ठूलो विशेषता हो, यसको उत्कृष्ट म्युजिक भिडियो । यो गीतलाई लोकप्रिय बनाउन यही म्युजिक भिडियोले सबैभन्दा ठूलो भूमिका खेलेको छ । यसलाई इन्स्ट्राग्रामको मद्दतले पहिलोपल्ट चर्चित बनाउन प्रयास गरेकी थिइन्, रिहानाले ।

५। सेप अफ यु


एडवार्ड क्रिस्टोफर सरिनको छोटकरीमा सांगीतिक नाम हो, इड सरिन । उनी इंग्लिस गीतकार तथा गायक हुन् । उनकै गीत सेप अफ यु सन् २०१७ मा अत्यधिक रुचाइएको गीतमा परेको छ । टेलर स्विफ्टको एल्बम रेडमा देखापरेयता चर्चित बन्न सुरु भएका सरिन आफैं धेरै चर्चित भएको भने यही गीतबाट हो । विश्वास नहुन सक्छ, ३५ भन्दा बढी देशका चार्ट्समा यो गीत नम्बर १ हुन सफल रहेको छ । प्रस्ट छ, यस पप गीतलाई धेरैले मन पराएका छन् ।

६। हम्बल


अमेरिकी र्‍यापर केन्ड्रिक ल्यामरको दोस्रो नम्बर १ गीत हो, हम्बल । माइक विलसँग आफैं मिलेर उनले यो गीत रहेका हुन् । र, यो ल्यामरको चौथो स्टुडियो एल्बम ड्यामबाट हो । एल्बमका लागि पहिलोपल्ट यही गीत रेकर्ड गरिएको थियो र अन्तत: यही गीतले उनलाई ठूलो सफलता पनि दिलायो । धेरै म्युजिक पण्डितले यसलाई सन् २०१७ कै एक उत्कृष्ट गीतका रूपमा व्याख्या पनि गरेका छन् । सामसुङ ग्यालेक्सी नोट एटले आफ्नो प्रचारमा यो गीतलाई प्रस्तुत गरेको थियो ।

७। मास्क अफ


पूरा विश्वमा धेरैले मन पराएको गीतमा पर्छ, यो मास्क अफ । सन् २०१७ मा यो ठूलो सफलता दिलाउने गीतको श्रेय जान्छ, अमेरिकी र्‍यापर फ्युचरलाई । उनको पाँचौं स्टुडियो एल्बममा यो गीत रहेको छ । एल्बमका लागि भनेर रेकर्ड भएको यो दोस्रो गीत हो र यही गीतले एल्बमलाई सफलता दिलाउन मुख्य भूमिका खेल्यो । त्यसो त यही शीर्षकमा अरू पनि गीत पाइन्छ, तर यत्तिको सफलता नै
फ्युचरको गीतले मात्र प्राप्त गर्न सक्यो ।

८। कंग्रयाचुलेसन


सन् २०१७ मा धेरै लोकप्रिय रहेको अर्को र्‍याप गीत रहेको छ, कंग्रयाचुलेसन । यसलाई प्रस्तुत गरेका छन्, अमेरिकी गायक पोस्ट म्यालुनले । खासमा यो उनको सांगीतिक नाम हो । उनको खास नाम हो, अस्टिन रिचार्ड्स । सन् २०१५ तिर मूलधारको र्‍याप संगीतमा देखापरेका यी गायकलाई अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता दिलाउने काम गरेको छ, कंग्रायचुलेसनले । विशेषत: यो गीत अमेरिकामा लोकप्रिय रहेको छ, त्यो पनि न्युयोर्कमा बढी ।

९। समथिङ जस्ट लाइक डिस


ब्रिटिस रक ब्यान्ड कोल्ड प्लेसँग मिलेर अमेरिकी गायकद्वयको चेन स्मोकरले बनाएको गीत हो, समथिङ जस्ट लाइक डिस । चेन स्मोकरमा छन्, एन्ड्रयु र एलेक्स । सेल्फी नामको गीतले उनीहरूलाई पहिलो सफलता दिलाएको थियो । सन् २०१७ मा आएर योभन्दा ठूलो सफलता समथिङ जस्ट लाइक डिसले दिलायो । यो गीत खासमा कोल्ड प्लेको डेब्यु स्टुडियो एल्बमबाट हो । अमेरिकी बास्केटबल कोर्टतिर यो गीत प्राय: बज्ने गर्छ ।

१०। स्टे
निकै कर्णप्रिय छ, यो गीत । यो डान्स/पप गीत लामो समयदेखि अधिकांश चार्टका शीर्ष स्थानमा रहेका छन् । रुसी जर्मन जेड र क्यानाडेली गायिका एलिसाको संयुक्त गीत हो, यो । खासमा जेड यो गीतका प्रडुसर हुन् । एभ्रिथिङ सिनेमामा पनि यो गीत सुन्न पाइन्छ । यस गीतलाई पेप्सीको विज्ञापनमा पनि सुन्न पाइन्छ । गीत रिलिज भएको केही समयमै यसले विभिन्न चार्टमा आफ्नो स्थान बनाउन सफल रह्यो र यो अहिलेसम्म पनि कायम छ ।
–एजेन्सीको सहयोगमा

हेल्लो शुक्रवार

फिफा १८ को प्रतीक्षा

 


हरेक वर्षझैं इलेक्ट्रोनिक्स आर्ट्स (ईए) स्पोर्ट्सले बहुचर्चित भिडियो गेम फिफाको नयाँ संस्करण यसपालि २९ सेप्टेम्बरमा रिलिज गर्दैछ । यस गेम प्लेस्टेसन, एक्सबक्स, निन्टेन्डो र पीसीमा उपलब्ध हुनेछ ।गेम फिफा सन् १९९३ मा सुरु भएको थियो । यसको नयाँ संस्करण बर्सेनि निकालिन्छ । विगतका तुलनामा यसपटक थुप्रै परिवर्तन भएका छन् । यसपटक फिफाको कभरमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो छन् । सन् २०१३ देखि २०१६ सम्म लियोनेल मेसी कभरमा निरन्तर रहेका थिए । २०१७ मा जर्मन स्टार मार्को रिउस कभर प्लेयर थिए । रोनाल्डो यसैपालि पहिलोपल्ट गेम फिफामा आएका हुन् । यसअघि उनी प्रतिस्पर्धी गेम कोनामीमा आबद्ध थिए ।गेम रिलिज हुन अझै एक साता बाँकी भए पनि इएले डेमो भर्सन भने सार्वजनिक गरिसकेको छ । आफ्नो कन्सोलको स्टोरमा गएर डेमो भर्सन सित्तैमा डाउनलोड गर्न सकिन्छ । डेमो भर्सनमा खेलको नयाँ ग्राफिक्स र मेकानिक्स प्रयोग गरिएको छ । यद्यपि डेमोमा ८ टोलीमात्र समावेश छन् र ४ मिनेटमात्र खेल्न पाइन्छ । डेमो भर्सनको साइज करिब ८ जीबी रहेको छ ।यसपटक ईएले फिफामा चिनियाँ लिगलाई पनि समावेश गरेको छ । गत वर्ष सुरु गरिएको फिफाको ‘द जर्नी’ सिरिजले निकै चर्चित भयो । तर एक सिजनमात्र खेल्न सकिने भन्दै खेलाडीहरूले यसको आलोचना गरेका थिए । फिफाले यस सिरिजमा निकै सुधार ल्याएको जनाएको छ । खेलाडीहरूले अब मुख्य पात्र एलेक्स हन्टरसँगै रहेर व्यावसायिक करियरलाई निरन्तरता दिन सक्छन् ।



गेम–प्लेमा बर्सेनि सुधार गर्दै आएको इएले यसपटक फ्रस्टबाइट इन्जिन प्रयोग गरी आकर्षक बनाएको छ । ग्राफिक्ससँगै खेलको रणनीतिक पक्षमा पनि सुधार देखिएको छ । रियल प्लेयर मोसन टेक्नोलोजी प्रयोग गरेर खेललाई थप रोमाञ्चक बनाइएको छ । डेमोमा गरिएको आकलनअनुसार यसपटक इएले खेलाडीहरूको विवरणमा पनि विशेष ध्यान पुर्‍याएको छ । मुख्य भर्सन अझ राम्रो हुने अपेक्षा गरिएको छ । दर्शकदीर्घा र खेलको स्थितिअनुसार समन्वयमा पनि विशेष ध्यान दिइएको छ । विशेषत: गोल गरेपछि समर्थकहरू वास्ताविक खेलमा जस्तै खेलाडीतर्फ केन्द्रित हुन्छन् ।खेल्दा वास्ताविक फुटबल खेलेजस्तै लाग्न सक्छ । पछिल्लो भर्सनमा कुद्ने खेलाडी हावीरक्रसिङको क्षमता अत्यधिक थियो । यसपटक रणनीतिक पाटो बलियो भएकाले त्यस्तो कमजोरी दोहोर्‍याइएको छैन । डिफेन्ससँगै खेलाडीहरूले गर्ने मुभमेन्ट पनि यथार्थपरक देखिन्छ ।गेम फिफामा धेरै परिवर्तन गर्दै फिफा १८ ल्याइँदै छ । डेमो भर्सनको आधारमा खेल निकै लोकप्रिय हुने निश्चित छ । अन्तिम भर्सनको सुरुआती मूल्य ४९.९९ पाउन्ड स्टर्लिङ तोकिएको छ ।

 

फिफा १८ खेल्न कम्प्युटरमा के–के चाहिन्छ ?
तस्बिरहरू : ईए

अपरेटिङ सिस्टम : विन्डोज ७ र ८.१ र १० — ६४ बिट
सीपीयू : इन्टेल कोर आई थ्री २१००
— ३.१ गिगाहर्ज
र्‍याम : ८ जीबी
हार्डड्राइभ : ५० जीबी
ग्राफिक कार्ड : २ जीबी
डाइरेक्ट एक्स : ११.०

हेल्लो शुक्रवार

क्रिएटिभ मेकअप

तस्बिरहरू : महेश प्रधान

तराईदेखि राजधानीका युवतीसम्मलाई ‘एसिड आतंक’ ले सताएको छ । सुन्दै डरलाग्दो आक्रमणपछि युवतीको रूप कस्तो हुन्छ भनी सोच्दा पनि आङ सिरिंग हुन्छ ।

यस्तो रूपलाई शनिबार सम्पन्न ‘ग्रयान्ड ब्युटी मेकअप २०१७’ मा देखाइएको थियो । केही आकर्षक त कुनै तर्साउने खालका होलोविन फोकस मेकअप कलाहरू प्रस्तुत गरिएको थियो । यसमा नेपालका ३६ जना मेकअप आर्टिस्ट सहभागी थिए ।