भक्तपुर/जनकपुर– मुलुकभर तिहारको उल्लास छाएको छ । प्रमुख सहरहरू उज्यालाले धपक्क छन् भने सर्वसाधारणले पनि आ–आफ्ना घर सजाएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका ६, नयाँ बस्तीकी गंगा दुवालले बिहीबार झ्याल, ढोका, चोटा, कोठा, कौसी, अटाली र भर्याङ सरसफाइ गरी लक्ष्मी पूजा गरिन् । उनी ५ दाजुभाइ र ९ भदा गरी १४ जनाका लागि तिहारको उपहार जोहो गर्न व्यस्त छिन् । किनमेलका लागि तौमढीको तिहार विशेष मेलामा पुगेकी गंगाले भनिन्, ‘वर्षभरि मनाइने चाडपर्वमध्ये तिहारको महत्त्व बेग्लै छ । जगमग उज्यालाले मनै प्रफुल्ल हुन्छ । त्यसमाथि दाजुभाइ र दिदीबहिनीको विशेष आत्मीयता झल्किने भाइटीका र म्ह: पूजाले माहोलै अर्कै बन्छ ।’ यमपञ्चक अर्थात् काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा र म्ह: पूजापछि तेलको धाराले छेकेर कहिल्यै नओइलाउने मखमलीको माला लगाइदिई दाजुभाइको दीर्घायुको कामना गर्ने क्षण विशेष रहेको उनी बताउँछिन् । गंगाजस्तै अन्य दिदीबहिनी र दाजुभाइ पनि तिहारको रौनकमा झुम्मिएका छन् । बजारमा बिमिरो, ओखर, कटुस, सप्तरंगी टीका, मखमली, सयपत्री फूल, भाइमसला, ढाका टोपी, फलफूल, दीपावलीका लागि भित्रिएका रंगीचंगी विद्युतीय बत्ती, माटाका पाला, कुचो, मिठाईलगायत सामग्री किनमेलले तिहारको रौनक बेग्लै छ । प्रेम, स्नेह र सद्भावको पर्वका रूपमा मनाइने तिहारले जो कसैलाई उमंग थपेको छ । सहरका मुख्य–मुख्य चोक तिहारका लागि चाहिने सामग्रीले भरिभराउ छन् । ‘दीपावली, सप्तरंगी टीका, देउसी/भैली, मखमली/सयपत्री फूल र स्नेहरूपी आशीर्वादले उमंग थपेको छ,’ स्थानीय सुन्तली जोशीले भनिन् ।
तिहारका लागि भक्तपुरका तौमढी, सूर्यविनायक, सल्लाघारी, नयाँ थिमि, पुरानो थिमि, गठ्ठाघर, कौशलटार, लोकन्थलीलगायत राजधानी उपत्यकाका बजार र मुख्य चोकको रौनक बेग्लै छ । विशेष गरी लक्ष्मी पूजा, म्ह: पूजा र भाइटीकाका लागि किनमेलको थलोका रूपमा तौमढीलाई लिने गरेको तौमढी क्लबका अध्यक्ष विजय द्यौभडेलले बताए । ‘बिस्केट जात्रा, गाईजात्रालगायत भक्तपुरका अधिकांश चाडपर्वले तौमढीको रौनक बढेकै छ,’ उनले भने, ‘काभ्रे, कालीमाटीका व्यापारी तिहारमा तौमढी आउँछन् ।’ भक्तपुरका अन्य स्थानमा पनि किनमेलको भीड छ । केही वर्ष अघिसम्म माटाका पालाले दीपावली गर्ने भक्तपुर पछिल्ला वर्षमा विद्युतीय बत्तीले झिलिमिली देखिन्छ । थोरैले मात्र माटाका पाला प्रयोग गर्ने सिपाडोलका राजेन्द्र श्रेष्ठले बताए । बढ्दो देखावटीपन र आधुनिकताले तिहारको मौलिकता लोप भएको संस्कृतिकर्मी ओम द्यौभडेलको भनाइ छ ।
तिहारकै अवसरमा तराई मधेस पनि दीपावलीले झिलिमिली बनेको छ । मिथिलानगरी जनकपुरका पसल तथा व्यापारिक प्रतिष्ठानहरू सजाउन केराको बोट अत्यधिक प्रयोग गरिएकाले नगर पूरै हरियाली र झिलिमिली देखिएको छ । नगर क्षेत्रका प्रत्येक पसलका अगाडि चारदेखि दस वटासम्म केराका बोट गाडिएका छन् । शिवचोकका पसले रामकुमार साहले भने, ‘केराको बोट पवित्र हुने तथा यसमा दियो बाल्न पनि सजिलो हुने भएकाले सजावटमा प्रयोग गरिएको हो ।’ रंगीचंगी कलात्मक रंगोलीहरू निर्माण गरिएकाले नगर क्षेत्रमा झनै रौनकता बढेको छ । कतिपय पसलका अगाडि कलात्मक द्वारहरूसमेत निर्माण गरिएका छन् । सामग्री बिक्री गर्न जानकी मन्दिर प्रांगणमा हटिया नै लगाइएको छ । हाट पूरै पूजा र तिहारका सामग्रीले भरिएका छन् । मिठाई पसलहरूमा ग्राहकको भीड छ ।पसल तथा व्यापारिक प्रतिष्ठान सजाउन केराको प्रयोग गरिए पनि पूजापछि यसको व्यवस्थापन भने जनकपुर उपमहानगरपालिकाका लागि टाउको दुखाइ हुने गरेको छ । अझै पनि डम्पिङसाइट अभाव रहेका कारण यी केराका बोट उपमहानगरपालिकाका कर्मचारीले यत्रतत्र फाल्ने गरेका छन्, जो पछि फोहरको डुंगुर बन्नेछ ।
समाचार
ठाउँ–ठाउँमा मण्डला
- प्रशान्त माली
न्हूदँ नयाँ वर्ष नेपाल संवत् ११३८ को उपलक्ष्यमा पाटन नकबहिलस्थित डबलीमा नवग्रह मण्डला बनाउँदै स्थानीय युवा । तस्बिर : प्रशान्त/कान्तिपुर
ललितपुर– पाटनको थ्याका युवा पुच:ले न्हूदँ नयाँ वर्ष नेपाल संवत् ११३८ को उपलक्ष्यमा मण्डला बनाएको छ । सर्वसाधारणलाई मण्डलाको महत्त्वका बारेमा जानकारी दिन नकबहिलस्थित मूल डबलीमा मण्डला बनाइएको पुच:ले जनाएको छ । ‘संस्कृत शब्द मण्डलादीबाट उत्पत्ति भएको मण्डल नेपाल भाषामा मण्ड: र अंग्रेजीमा मण्डला भनिन्छ,’ मण्डला विशेषज्ञ प्रचण्ड शाक्य भन्छन्, ‘नेपाल भाषामा मण्ड: भनेको ज्ञान र लादी भनेको सार रहेको मण्डला हो ।’ सर्वप्रथम बुद्धले शिष्य आनन्दलाई ‘ह्वील अफ लाइफ’ भवधर्मचक्र मण्डलका बारेमा वर्णन गरेका थिए । ‘यहीँबाट मण्डलाको विकास भएको हो,’ उनले भने, ‘युवा पुस्ताले मण्डला हेरेर आकर्षित हुने मात्र नभई त्यसले दिन सक्ने ज्ञान लिनुपर्छ ।’नकबहिलमा पुच:का १५ युवायुवतीले दुई दिन लगाएर नवग्रह मण्डला बनाएका छन् । स्थानीय युवा सुजन शाक्यका अनुसार नेवारी परम्परामा आठवटा मंगल चिह्न हुन्छ । ‘मंगल भनेको शुभ हो,’ उनले भने, ‘नवग्रहमा ब्रह्माण्डको चित्रण गरिएको छ ।’ नवग्रहमा सूर्य, चन्द्र, बुध, शुक्र, मंगल, बृहस्पति, शनि, राहु र केतु पर्छन् । ‘चिना देखाउँदा र ग्रह शान्ति गर्दा प्रयोग हुने मण्डला यही हो,’ उनले भने, ‘नवग्रह मण्डलामा हिन्दु र बौद्ध (बज्रायणी) धर्मसँग सम्बन्धित छ ।’ पाटन छाबहालमा भने पञ्चबुद्ध मण्डला बनाइएको छ । ‘हिन्दु धर्मअनुसार मण्डला यन्त्र भनिन्छ,’ स्थानीय युवा श्रवण शाक्य भन्छन्, ‘बीच भागको चक्रमा बुद्ध मूर्ति भएको मण्डला पञ्चबुद्ध मण्डला हो ।’ उनले पञ्चबुद्ध मण्डला पञ्चावली तत्त्व मिलेर बनाइएको बताए । उनी भन्छन्, ‘सबभन्दा बाहिर आगोको ज्वालावली तत्त्वले रिस, राग र मोह, बज्रावलीले शक्ति, पद्मावलीले मन शुद्ध, निश्चल, कोमल, वायुवलीले मिलनसार हुनुपर्ने संकेत गर्छ । त्यसपछि दरबार आकृतिमा चारैतिर मुख्य प्रवेशद्वारमा महाकालजस्ता डरलाग्दा देवता राखिएका छन् । यसको अर्थ मानिसका फरक–फरक किसिमका स्वभाव हुन्छन् भन्ने हो । यसको पहिचान क्षमता मानिसमा हुनुपर्ने उल्लेख गर्दै शाक्यले भने, ‘अनि मात्र सफलता पाउन सकिन्छ भन्ने संकेत गर्न खोजिएको हो । देवताले समाती राख्ने ज्याबलमा मानिसहरूलाई अंकुश लगाउने संकेत रहेको छ । ‘ज्ञानगुणका कुरा लिइसकेपछि सुरक्षित गर्नुपर्ने संकेत तालाले, प्रचारप्रसार गर्नुपर्ने संकेत घण्टाले गर्छ,’ उनले भने ।
यमन्तक देवताको मण्डलामा देवताहरू देखिँदैन । देवताका प्रतीकका रूपमा खड्गहरू हुन्छन् । यसले मानिसहरूमा गोप्यताको क्षमता पनि हुनुपर्ने संकेत गर्छ । मठमन्दिर, घरको कौसी, आँगन, पूजा कोठा इत्यदिमा देखिने मण्डल अष्टमण्डल हुन् । यसलाई कुलदेवता, इष्टदेवतालगायत जुनसुकै देवताको प्रतीकका रूपमा पूजा गर्न सकिने उल्लेख गर्दै मण्डला विशेषज्ञ शाक्यले भने, ‘ज्ञान प्राप्त गर्न घर त्यागिहाल्नु पर्दैन ।’ उनका अनुसार विभिन्न तरिकाबाट ज्ञान हासिल गर्न सकिन्छ । ‘म्ह: पूजा गर्दा पनि मण्ड: बनाएर नव वर्ष फलिफाप होस् भनी पूजा गरिन्छ,’ उनले भने, ‘यसबाट पनि पूर्ण ज्ञान हासिल गर्न सकिन्छ ।’ उनले मण्ड:मा अष्टमंगलको चिह्न हुने बताए । ‘मण्ड:मा श्रीबच्छको अर्थ मृत्यु नभएसम्म ज्ञानगुणका कुरा सिकिरहनुपर्ने, कमलको फूलले मन निश्चल, निर्मल र कोमल बनाउनुपर्ने, ध्वजबलले आफूमा भएको प्रभाव देखाउन सक्नुपर्ने, कलश अमृत, चामरले सबैलाई समान व्यवहार, मत्स्यले राम्रो र नराम्रो गुण छुट्याउन सक्नुपर्ने, छत्रले अरूलाई पनि सुरक्षा गरेर अगाडि बढ्न सक्नुपर्ने र शंखले सधैं जागरुक हुुनुपर्ने संकेत गर्छ । कालो भटमास, कालो दाल जनावरका प्रतीक हुन् । मानिसमा रहेको जनावरको जस्तो प्रवृत्ति हटाउन सके देवतासरह स्थान पाउन सकिने शाक्यले बताए ।
समाचार
बेपत्ताका परिवारलाई सम्पत्ति भोगचलनमा बाधा
- घनश्याम खड्का
काठमाडौं– आफन्त नहुनुको पीडा त छँदै छ, द्वन्द्वकालमा राज्य वा तत्कालीन विद्रोही माओवादीबाट बेपत्ता पारिएका परिवारजनमा सम्पत्ति भोगचलन, नाता प्रमाणीकरण र अंशबन्डालगायत घरेलु काममा समेत कानुनी अड्चन आइलागेको छ । बेपत्ता आफन्तको कानुनी हैसियत किटान नहुँदा आफूहरू ठूलो मर्कामा परेको पीडितहरू बताउँछन् । ‘आम मानिसका जीवनमा कहिल्यै नआउने र आम रूपमा सोच्दै नसोचिने झमेलाहरू हामी बेपत्ता परिवारका सदस्यले भोग्नु परिरहेको छ,’ बेपत्ता समाजका उपाध्यक्ष रूपेश साह भन्छन्, ‘बाबु बेपत्ता हुँदा छोराछोरीको नागरिकतासमेत बनाउन समस्या भएको छ कतिलाई, पति बेपत्ता हुँदा पत्नीको हक कायम नभएको अवस्था छ र कतिपय परिवारमा मूल व्यक्ति बेपत्ता हुँदा ऋणधन र कागजी लेनदेनको व्यावहारिक काममा समेत ठूलो बाधा आइपरेको छ ।’ कानुनी र व्यावहारिक मात्र होइन, सांस्कृतिक र परम्परागत कार्यमा पनि बेपत्ता परिवारका सदस्यमा एक किसिमको अनिश्चयले समस्या पार्ने गरेको साह सुनाउँछन् । उपाध्यक्ष रूपेशका जेठा दाजु जयकुमार साह ३० वर्षको उमेरमा २०५९ जेठ १४ मा बेपत्ता पारिएका थिए । हालको रामधुनी नगरपालिकामा पर्ने सुनसरीको बकलौरी गाविसबाट उनका दाजुसहित दीपक विश्वकर्मा र चिरञ्जीवी गौतमलाई तत्कालीन संयुक्त सुरक्षा फौजले पक्राउ गरेर लगेको थियो । त्यसयता उनीहरू तीनै जनाको अत्तोपत्तो छैन ।‘हरेक वर्ष दिदीले तिहारमा दाजुका लागि पनि माला उन्नुहुन्छ,’ रूपेश भन्छन्, ‘दाजु आई पो हाल्छन् कि भन्ने आस हुन्छ ।’ यसरी आस गर्दागर्दै १५ वर्ष बिते । तर रूपेशका दाजु फर्केर आएका छैनन् । तिहारमा आस गर्ने बहिनीहरू र दसैंमा जमरा राख्ने आमाबाबु जहिल्यै आफ्ना बेपत्ता दाजु/छोराछोरीको पर्खाइमा बस्छन् ।‘हरेक दिन उहाँ आइहाल्नुहुन्छ कि भनेर बाटो कुरिरहेकी हुन्छु,’ बेपत्ता श्याम भट्टकी पत्नी शोभा भन्छिन्, ‘यसरी आसैआसमा १८ वर्ष बितिसकेछ, अझै कति बित्ने हो ।’ चन्द्रागिरि नगरपालिका १३ मा पर्ने साबिकको पुरानो नैकाप निवासी उनका पतिलाई २०५८ असोज १८ को बिहान ८ बजे ५ माओवादीले सोधपुछ गर्न भनी लगेका थिए । त्यसपछि पति फर्केर आएका छैनन् । शोभाका आँखाले उनको बाटो हेर्न छाडेको छैन । उनी बेपत्ता भएको वर्ष छोरा तीन वर्षको र छोरी साढे चार वर्षकी थिइन् । तिनले पहिला दिनहुँ ‘बाबा कहिले आउने’ भनेर सोधिरहन्थे । ‘म जवाफ दिन नसकेर लाचार हुन्थें,’ शोभा भन्छिन्, ‘अहिले बुझ्ने भएर सोध्न छाडे तर म आफैंसँग सोधिरहेकी हुन्छु, मेरा पति कहिले आउनुहुन्छ ?’
बेपत्ताका परिवारलाई अंशबन्डा र अचल सम्पत्ति भोगचलनमा पनि निकै समस्या छ । बेपत्ताका पत्नीहरूमा आफू विधवा कि सदवा भन्ने अन्योल पनि छ । पति बेपत्ता भएपछि ससुराका नाममा भएको पुख्र्याैली जमिन नामसारी गर्न नमिलेको शोभा बताउँछिन् । एकातिर सम्पत्तिको भोगचलनमा उनलाई बाधा परेको छ, अर्कातिर घरमा कमाउने नै नभएपछि निर्वाहका लागि पनि समस्या बढ्दै गएको छ । ‘सरकारले एकल महिलालाई भत्ता दिन्छ, हामी बेपत्ताका पत्नीलाई त्यो पनि छैन,’ उनी भन्छिन्, ‘सधैं नै अनिश्चय र दोधारमा दिन बितिरहेछ, हाम्रो कुरा सुन्ने कसले ?’ बेपत्ताका परिवारमा अचल सम्पत्तिको मात्र नभएर चल सम्पत्ति भोगचलनमा समेत कानुनी झमेला भएको पीडित बताउँछन् । ‘सिरहामा मेरा मित्र उदय साहका बाबु बेपत्ता हुनुभएको छ,’ बेपत्ता समाजका उपाध्यक्ष रूपेश साह भन्छन्, ‘बैंकमा उनका बुबाका खातामा पैसा त छ, तर त्यो चलाउन उनीहरूले पाएका छैनन् ।’खातावालाको रकम चलाउन हकवालाले मृत्युदर्ताको प्रमाणपत्र पेस गर्नुपर्छ । यस्तो कानुनी व्यवस्थाले खातामा भएको पैसा पनि खर्च गर्न नसक्ने अवस्थामा सयौं पीडित छन् । ‘बेपत्ता व्यक्तिका नाममा बैंकमा ऋण छ भने परिवारका सदस्यले तिर्न पाउने तर उनका नाममा पैसा छ भने लिन नपाउने सरकारको नीतिले धेरै नै दु:ख भएको छ,’ उपाध्यक्ष साह भन्छन्, ‘हामीले कतिपटक बेपत्ता परिचयपत्र पेस गरेपछि यो झमेला हट्ने व्यवस्था गरिपाऊँ भनेर सरकारलाई गुहारिरहेका छौं, तर सुनुवाइ कहिल्यै भएन ।’
समाचार
हरेक तिहारले रुवाउँछ सपनालाई
- कान्तिपुर संवाददाता
काठमाडौं– चौध वर्ष बितेर गएको छ उनले मखमली फूलको माला नगाँसेको र तिहारमा टीका नलगाएको । चौध वर्षको छँदा दाजुले सप्तरंगी टीका लगाएको सम्झना सपना सुवर्णकारलाई अहिले पनि उत्तिकै छ । त्यसपछि सेनाबाट बेपत्ता पारिएका उनका दाजु अशोक अकेला कुमार फर्किएर कहिल्यै आएनन् । ‘त्यसबेलादेखि मेरो निधार जहिल्यै खाली भयो,’ सपना भन्छिन्, ‘हरेक वर्षको तिहारमा दाजुको अभाव झन् बढी गहिरो हुन्छ ।’गोरखाको बोर्लाङमा जन्मेहुर्केका २३ वर्षीय उनका दाजु २०६० मंसिर ६ देखि काठमाडौंबाट सम्पर्कविहीन भएका थिए । ‘उहाँ माओवादीमा लाग्नुभएको थियो र उपत्यकाको दलित राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य हुनुहुन्थ्यो,’ सपना भन्छिन्, ‘भैरव दल गणका सेनाले उहाँलाई समाते रे भनेर बालाई फोन आएको थियो, त्यसपछि हामीले कति खोज्यौं तर कतै फेला पार्न सकिएन ।’ पाँच बहिनीका एक मात्र दाजु अशोक बेपत्ता भएदेखि सपनाको घरमा दसैंतिहारको रौनक फर्किएको छैन । ‘अघिपछि पनि उत्तिकै छटपटी हुन्छ तर पनि दसैंमा बाआमा ज्यादा रुनुहुन्छ, तिहारमा हामी पाँचै बहिनी,’ सपना भन्छिन्, ‘दाजुको सम्झनाले कुनै चाडबाड मान्नै मन लाग्दैन ।’ माओवादीमा लागेर दलित संगठनमा सक्रिय भएबापत पहिले पनि १४ महिना पक्राउ परेपछि सर्वाेच्च अदालतको बन्दि प्रत्यक्षीकरणको आदेशमा २०५९ सालमा अशोक छुटेका थिए । यसरी पक्राउ परेर छुटेको विगतका कारण सपनाको परिवारले पहिले त पछिसम्म उनी फर्केर आउलान् भन्ने ठानेको थियो । त्यही आसले उनीहरू सर्वाेच्चमा रिट दायर गर्नेदेखि भद्रकाली अगाडि १९ दिनसम्म आमरण अनशन बस्नेसम्मका गतिविधिमा अन्य पीडितसँगै सहभागी भए । ‘त्यतिले नपुगेर आईसीआरसी र मानव अधिकार आयोगमा समेत उजुरी गर्यौं,’ सपना भन्छिन्, ‘तर पनि दाजुको पत्तो लागेन ।’पछि रिहा भएका हिमाल शर्मा, कृष्ण केसीलगायतले भैरवनाथ गणबाट शिवपुरी लगेर हत्या गरिएका ४९ जनाको सूचीमा अशोक पनि थिए भनेर खुलासा गरेपछि आफ्नो मन भरंग भएको सपनाले बताइन् । ‘त्यसपछि हामीले दाजुको आस मार्यौं,’ उनी भन्छिन्, ‘उहाँलाई पक्कै पनि मारिसकिएको छ, अब हामी दोषीमाथि कारबाही होस् भन्ने मागमा छौं ।’घटनाको सत्यतथ्य खोजबिन गरी हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने आफू र आफूजस्ता अन्य पीडितको माग कसैबाट सुुनुवाइ नभएकामा भने उनी आक्रोशित छिन् । ‘बेपत्ता आयोगले पोहोर उजुरी मागेपछि त केही होला भन्ने ठानेकी थिएँ,’ उनी भन्छिन्, ‘तर आजका मितिसम्म केही भएन, साह्रै दु:ख लागेर आउँछ ।’
समाचार
लबबर्ड र मैनाचरी हुँदै चिम्पान्जी र कछुवातिर
उस्मानको तस्करी यात्रा
- अब्दुल्लाह मियाँ
सौजन्य : सीआईबी
काठमाडौं– अफ्रिकी मुलुक नाइजेरियाबाट चिम्पान्जी, बाँदरलगायत चरा भित्र्याएको आरोपमा मंगलबार समातिएका मोहम्मद उस्मान पहिलोपटक वन्यजन्तु तस्करीको अभियोगमा समातिएका होइनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरी वन कार्यालय काठमाडौंसमक्ष बुधबार बुझाइएका ६ जनामध्येका ३४ वर्षीय छोटु भनिने उस्मान नामुद वन्यजन्तु र चरा तस्कर हुन् । यसअघि पनि खरायो, कछुवा र विभिन्न प्रजातिका विदेशी चरा तस्करीमा संलग्न भएको पाइएपछि उनी २०७१ र २०७३ को असार र मंसिरमा प्रहरीको फन्दामा परेका थिए । जेल परी सजाय भोगेर निस्किए पनि यिनले तस्करी गर्न भने छोडेका छैनन् । करिब १५ वर्षदेखि काठमाडौंलाई केन्द्रविन्दु बनाएर यिनले अफ्रिकी मुलुकका साथै मलेसियालगायतका मुलुकबाट चरा र वन्यजन्तु तस्करी गर्ने गरेका छन् । रोचक त के छ भने भारत पटना स्थायी घर भई स्वयम्भू बस्ने यिनका ५ दाजुभाइमध्ये ४ जना वन्यजन्तु र चराचुरुंगी तस्करीकै काममा संलग्न छन् । सीआईबीमा लामो समय वन्यजन्तु तस्करीबारे अध्ययन गरेका डीएसपी प्रवीण पोखरेलका अनुसार उस्मानसहित उनका भाइहरू अनवर, अफसर र फिरोज वन्यजन्तु तस्करीकै काममा संलग्न छन् । उनका कान्छा भाइ भने पटनामै कपडा व्यवसाय गर्छन् ।‘वन्यजन्तु र चरा तस्करीमा ५ जनाको मुख्य नेटवर्क देखिएको छ,’ डीएसपी पोखरेलले भने, ‘त्यो नेटवर्कलाई विमानस्थलस्थित भन्सारका एजेन्ट राजकुमार तिवारीले मुख्य सहयोग गर्ने गरेका छन् ।’ पछिल्लोपटक चिम्पान्जी र बाँदरसहित चरा तस्करीमा सहयोग गरेको अभियोगमा बारा, डुमरबाना स्थायी घर भई कपन बस्ने तिवारी पनि समातिएका छन् । उनलाई बुधबार वन कार्यालय काठमाडौंले बयान लिएर हिरासतमा पठाएको छ । नेटवर्ककका ५ जनामध्ये एक नेपाली अमिन आलम हुन् भने दुई भारतीय र दुई पाकिस्तानी छन् । नुवाकोट घर भएका अमिन लामो समयदेखि काठमाडौंमा बसेर चरा तस्करीमा सहयोग गर्ने गरेको सीआईबीको भनाइ छ ।
यसअघि उस्मान गत वर्षको मंसिरमा कतारी नागरिकलाई बेचिएका ६ वटा हुचिल छोड्न विमानस्थल गएका बेला पक्राउ परेका थिए । त्यतिबेला उनलाई वन कार्यालयले ४ महिना जेल सजायको फैसला गरेको थियो । ‘जेलमुक्त हुनेबित्तिकै फेरि वन्यजन्तु तस्करीमै संलग्न भएको देख्दा म पनि अचम्मित छु,’ काठमाडौंका डीएफओ डा. इन्द्रप्रसाद सापकोटाले भने । गत मंसिरमा उस्मानले नेपाल आएका कतारी नागरिक फैजल मोहम्मदलाई महँगो मूल्यमा हुचिल बिक्री गरेका थिए । विमानस्थलमा फैजलको लगेज (सुटकेस) परीक्षणका क्रममा ६ वटा हुचिल भेटिएपछि प्रहरीले फैजलसहित उस्मानलाई पक्राउ गरेर वन कार्यालय बुझाएको थियो । कतारी नागरिकलाई भने तत्कालीन वनमन्त्री शंकर भण्डारीको दबाबमा उन्मुक्ति दिइएको थियो । सीआईबीले २०७३ असार २ गते पनि १ सय ९ कछुवा र आकर्षक चरासहित उस्मानलाई सामाखुसीस्थित नरेश शाहीको घरबाट पक्राउ गरी वन कार्यालयलाई बुझाएको थियो । उस्मानले नरेशकै घर भाडामा लिएर कछुवा तथा विभिन्न प्रजातिका चरा पाल्ने र त्यहींँबाट गोप्य ढंगले बिक्री र निकासी गर्ने गरेको पोखरेल बताउँछन् ।
प्रहरीले थाहा पाएपछि उनले बाँसबारीस्थित् सञ्जीव भारीको घरमा कोठा भाडामा लिएर कारोबार गर्दै आएका थिए । पछिल्लोपटकको तस्करीमा घरवाला भारी पनि समातिएका छन् । भारी पनि अहिले उस्मानसँगै प्रहरी हिरासतमा छन् । उस्मानले भारतका विभिन्न स्थानका साथै अफ्रिकी मुलुकहरू, इन्डोनेसियाबाट वन्यजन्तु र चरा आयात गर्दै बिक्री गर्ने गरेका छन् । केही वर्षअघिसम्म उस्मान बागबजार, कमलपोखरी र पानीपोखरीमा पनि घर भाडामा लिएर चराचुरुंगीको कारोबार गर्थे । सीआईबीले छापा मार्ने क्रम बढाएपछि उनले आफ्नो व्यवसायलाई गोप्य ढंगले सञ्चालन गर्दै आएका थिए । २०७३ असारमा उस्मान साढे दुई महिना जेल बसेर बाहिरिएका थिए । त्यसअघि २०७१ असार ३० मा उनी १ सय ६२ वटा लबबर्ड नामका चरासहित प्रहरीको फन्दामा परेका थिए । त्यतिबेला पनि उनी जेल परेका थिए ।
डीएसपी पोखरेलका अनुसार उस्मानको मलेसियालगायतका मुलुकका अनलाइन व्यापारीसँग सीधा कनेक्सन छ । ‘भारतको पटनाबाट कछुवा र चरालगायतका वन्यजन्तु काठमाडौं ल्याएर सीधै व्यापारीलाई बेच्ने गरेको देखिन्छ,’ पोखरेलले बिहीबार कान्तिपुरलाई भने, ‘जेल जान्छन्, छुटेकै दिनदेखि फेरि तस्करी सुरु गर्छन् ।’ सीआईबीको ‘रेडलिस्ट’ मा समेत परेका उस्मानले जाबा, लबबर्ड, मैना, फेन्सी, काकातिल, बडजेरिगर, बट्टाई, अफ्रिकी ढुकुरलगायत आकर्षक र महँगा चरा तस्करी गर्ने गरेका छन् । पछिल्ला वर्षहरूमा उनको आँखा कछुवा, चिम्पान्जी, अल्काटा र बाँदरलगायत वन्यजन्तुतिर गडेको छ । सीआईबी स्रोतका अनुसार काठमाडौंमा खुलेका चिनियाँ रेस्टुरेन्टहरूमा कछुवाको मासुको माग बढेपछि तस्करी बढेको हो । भारतबाट माछाका भुरासँगै हालेर कछुवाका बच्चा भित्र्याउने गरिएको छ । चीनसहित मंगोलिया, मलेसिया, लाओस, भियतनामलगायत मुलुकमा कछुवाको माग बढेका कारण काठमाडौंबाट तस्करी हुने गरेको पोखरेल बताउँछन् ।
बुधबार चिम्पान्जीसहित वन कार्यालय पेस गरिएका उस्मानसहित ६ जनाबारे अनुसन्धान जारी छ । ६ मध्ये एक राजकुमार तिवारीसँग मात्र बयान लिइएको छ । अनुसन्धान अधिकृत उत्सव थापाका अनुसार तिहारपछि आइतबार अरू ५ जनाको बयान लिइनेछ । उनीहरू प्रहरी हिरासतमा छन् भने बरामद गरिएका वन्यजन्तु र चरा अनुसन्धानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पठाइएको छ । प्रजाति पहिचानपछि निकुञ्ज ऐनअनुसार उनीहरूमाथि कारबाही हुने डीएफओ सापकोटाले बताए ।वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले समातिएका अधिकांश पुराना र दोहोरिएका तस्कर भएकाले यसपटकको अभियोगबारे अनुसन्धान कडा ढंगले अघि बढाउन निर्देशन दिएका छन् । ‘उन्मुक्ति नपाऊन् भन्नेमै हाम्रो ध्यान छ,’ आचार्यले भने ।
समाचार
अन्तर्राष्ट्रिय पर्यवेक्षण हुने
प्रतिनिधि तथा प्रदेशसभा चुनाव
- चन्द्रशेखर अधिकारी
काठमाडौं– मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा (संघ) र प्रदेशसभा चुनावमा विदेशी पर्यवेक्षक सहभागी हुने भएका छन् । यसअघिका दुईवटै संविधानसभा चुनावको पर्यवेक्षण गरेका कार्टर सेन्टर, युरोपियन युनियन (ईयू) लगायतले आगामी निर्वाचनमा पर्यवेक्षण गर्न पाउने भएका हुन् । निर्वाचन आयोगले अन्तिम सूची निकाल्न समय बाँकी रहेको जनाएको छ । आयोगले ४ सयभन्दा बढी अन्तर्राष्ट्रिय व्यक्ति तथा संस्थाले पर्यवेक्षण गर्न सक्ने अनुमान गरेको छ । अन्य मुलुकले पनि राष्ट्रिय, संसदीय तथा आम निर्वाचनमा अन्तर्राष्ट्रिय संस्था र समुदायलाई पर्यवेक्षण गर्न दिने गर्छन् । नेपालले समेत अन्तर्राष्ट्रिय पर्यवेक्षणलाई स्वागत गर्ने गरेको छ । यसअघिको दुई पटक सम्पन्न संविधानसभाको निर्वाचनमा ३ सय बढी अन्तर्राष्ट्रिय तहकाले पर्यवेक्षण गरेका थिए । स्थानीय निर्वाचनमा विदेशी पर्यवेक्षण गर्न नदिएको निर्वाचन आयोगले संघ र प्रदेशमा भने उनीहरूलाई सहभागी गराउने भएको हो । स्थानीय निर्वाचनमा समेत विदेशी पर्यवेक्षण गर्न पाउनुपर्ने भन्ने कूटनीतिक लबिइङ गरेको विदेशी नियोगहरूलाई पनि यसपटक स्वच्छ ढंगले पर्यवेक्षण गर्न दिन लागिएको हो । स्थानीय निर्वाचनमा पनि नेपालस्थित कूटनीति नियोगका इच्छुक अधिकारीलाई निर्वाचन अवलोकनमा भने सरकारको समन्वयमा विभिन्न निर्वाचन बुथहरूमा लगेको थियो । अन्तर्राष्ट्रिय संस्था तथा समुदायको पर्यवेक्षणबाट निर्वाचन आयोग र अन्तर्राष्ट्रिय समुदायबीच सम्बन्ध विस्तारका साथै आयोगको विश्वसनीयता र निर्वाचनको अन्तर्राष्ट्रिय प्रत्यक्षदर्शीका रूपमा साक्षी राख्नकै लागि पनि पर्यवेक्षणको परम्परा अघि बढेको हो । संघ र प्रदेशको निर्वाचनलाई आयोगले परराष्ट्र मन्त्रालयमार्फत नेपालस्थित कूटनीतिक नियोग, ती नियोग रहेको मुलुकका सरकारी अधिकारी वा निकायले पर्यवेक्षण गर्न चाहेमा पाउने जानकारी पठाएको छ । अन्य अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्वाचन पर्यवेक्षण गर्न चाहेको खण्डमा पाउने भन्दै त्यसका लागि आयोगले सर्तसहित सूचना निकालेको दुई साता भइसकेको छ । निर्वाचनको अनुगमन नगरेको समुदाय वा व्यक्तिलाई भने आयोगले निर्वाचन पर्यवेक्षणको अवसर दिने छैन ।
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार सरकारले अनुभव भएका मित्र मुलुकहरूका प्रतिनिधिलाई अनुगमनका लागि व्यवस्था गरिने जानकारी गराएको छ । अनुगमन गर्न चाहँदैमा अनुगमन गर्न नपाइनेसमेत निर्वाचन आयोगको निर्णय रहेको ती अधिकारीले भने, ‘निर्वाचन पर्यवेक्षणका पनि छुट्टै आचारसंहिता हुन्छ । यसलाई सबैले पालन गर्न आवश्यक छ ।’ आयोगले पर्यवेक्षण गर्न चाहने अन्तर्राष्ट्रिय संस्थाका साथै ख्याति प्राप्त अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणका लागि औपचारिक पत्राचार नै गर्नेछ ।‘निष्पक्ष, स्वतन्त्र र भयरहित तवरले निर्वाचन सम्पन्न गर्ने उद्देश्यले आयोगले अन्तर्राष्ट्रिय संस्था तथा समुदायलाई पर्यवेक्षणमा सहभागी हुन दुई साताअघि नै आहान गरेको हो,’ आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘आयोगले अन्तर्राष्ट्रिय पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहितामा अडेर नै त्यस्तो पर्यवेक्षण गर्दै निर्वाचनको अन्तर्राष्ट्रिय विश्वसनीयतालाई कायम राख्नेछ ।’ नेपालमा आउने विदेशी पर्यवेक्षकको समन्वयको काम परराष्ट्र मन्त्रालयमार्फत हुने बताउँदै उनले भने, ‘निर्वाचन स्थलमा हाम्रो भूमिका रहने भए पनि अन्तर्राष्ट्रिय पर्यवेक्षणको व्यवस्थापनबारे समन्वय भने परराष्ट्र मन्त्रालयबाट हुनेछ ।’ आयोगले दक्षिण एसियाली मुलुकका निर्वाचन आयोग तथा निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुखलाई आमन्त्रण गरिसकेको छ । पर्यवेक्षण गर्न इच्छुक सघसंस्था वा व्यक्ति आफ्नो मुलुकको आधिकारिक निकायमा दर्ता भएको र विगतमा निर्वाचनको पर्यवेक्षण गरेको अनुभव हुनुपर्ने सर्त आयोगले राखेको छ । यहाँस्थित कूटनीतिक समुदायलाई पनि परराष्ट्र मन्त्रालयले जानकारी गराइसकेको छ ।
समाचार
सयपत्रीको मूल्य दोब्बर
- कान्तिपुर संवाददाता
पोखराको बिरौटामा गरेको फूलखेतीमा दिलबहादुर गुरुङ । वैदेशिक रोजगारीमा तीन वर्ष मलेसिया बसेका गोरखाको मान्बुका गुरुङ फर्केर स्वदेश आएयता एक दसकदेखि फूलखेतीमा लागेका छन् । तस्बिर : भीम घिमिरे/कान्तिपुर
धनकुटा– सयपत्री फूलको उत्पादन कम भएपछि गत वर्षको भन्दा मूल्य दोब्बर भएको छ । गत वर्ष खुद्रा प्रतिमुठा ४० देखि ५० रहेकोमा यस वर्ष ९० देखि सय रुपैयाँसम्ममा किनबेच भएको छ ।तिहारमा पूर्वका अधिकांश ठूला सहरलाई धान्ने सयपत्री फूल उत्पादन गर्दै आएका धनकुटाका कृषकले यस अपेक्षा गरेअनुसार उत्पादन हुन नसकेको गुनासो गरे । मूल्य दोब्बर भएपछि कृषक तथा बिचौलियाभन्दा उपभोक्ता मारमा परेका छन् । २ देखि ४ सय ग्रामका मुठाको झन्डै सय रुपैयाँ खुद्रा मूल्यमा किनबेच भइरहेको सयपत्री फूल उत्पादक कृषक जितेन्द्र राईले बताए । तर बिचौलियाले कृषकको बारीमा पुगेर प्रतिमुठा बढीमा ५० रुपैयाँमा खरिद गरेर गर्दै आएका छन् । अन्य खेतीभन्दा सामान्य मेहनतले सयपत्रीबाट आम्दानी लिन थालेपछि सेउले, कागते, निगाले, मालबासेलगायत कृषक यसको खेतीतर्फ आकर्षित हुने गरेका छन् । यस वर्ष जिल्लाबाट करिब ५० लाख बराबरको फूल बाहिरिएको कृषि विकास कार्यालयको अनुमान छ । लाकुरे गाउँका दशभन्दा बढी कृषकले यसको व्यावसायिक खेती गर्दै आएको छन् ।यहाँ करिब ४० रोपनी क्षेत्रफलमा सयपत्री उत्पादन गरिएको छ । ६ रोपनीमा सयपत्री फूल उत्पादन गरेका जितेन्द्रले अपेक्षा गरिएभन्दा कम मूल्य पाएको बताए । ‘पानी बढी परेर हो वा के भएर उत्पादन कम भयो पत्तो पाइएन,’ उनले भने, ‘यस वर्ष आशा गरेअनुसार आम्दानी भएन ।’ गत वर्ष डेढ लाख कमाइ गरेका उनले यस वर्ष एक लाखमात्र आम्दानी गरेको बताए ।यहाँको सयपत्री पूर्वका धनकुटा, धरान, विराटनगर, इटहरीलगायत झापाका विभिन्न स्थानमा निर्यात हुन्छ । स्थानीय कृषकले ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म फूलबाट आम्दानी गरेका छन् । ठोका गाउँमा पनि यस वर्ष सयपत्री उत्पादनमा कमी आएको अग्रज कृषक सूर्यबहादुर राईले बताए ।निगालेका सुक्रीमाया र धनमाया राईले पनि फूलबाट ५० हजारभन्दा बढी आम्दानी गरेको बताए । उनीहरूले पनि आशा गरेअनुसार आम्दानी कम हात पारेको बताए । जिल्लाका कृषकले फूलबाट मनग्यै आम्दानी लिने गरे पनि कृषि विकासमा यसको खेतीबारे आधिकारिक तथ्यांक छैन ।
समाचार
बजारमै अभाव
- कान्तिपुर संवाददाता
भोजपुर (कास)– हतुवागढी गाउँपालिकाकी मीना राईलाई यस वर्षको तिहार खासै रौनक छैन । उनका माइती घरै छन् । लक्ष्मीपूजासमेत गरिसकिन् । तर विगतमा जस्तो उल्लास छैन । किनकी बारी र बगैचामा रोपेको सयपत्री र मखमली नफूलेर तिहार लागेजस्तो अनुभव नभएको उनको भनाइ छ । ‘तिहारको विशेषता नै ढकमक्क फूल, माइतीको गलाभरि माला, यसवर्ष त आधाभन्दा बढी फूलेकै छैन,’ हतुवागढी गाउँपालिकाकी उनले गुनासो गरिन् । चेली माइतीको सम्बन्धलाई प्रगाढ बनाउने माध्यमका रुपमा लिइने तिहार वर्षदिनमा एकपटक आउँछ । सप्तरंगी टीका र गलाभरि मालाले चेलीले माइतीलाई सजाउँछन् ।तिहार पर्व भित्रिए पनि सयपत्री र मखमली फुल नफुल्दा दिदीबहिनीमा निराशा छ । विगतका वर्षको तुलनामा यस वर्षको तिहार चाँडै भित्रेकाले घर तथा बगैंचाका फूल नफुल्दा निराश छन् । यमपञ्चक सुरु भएदेखि नै फूलको आवश्यकता पर्छ । भाइटीकाको दिन दाजुभाइलाई लगाइदिन र खासगरी लक्ष्मी पूजाका लागि बढी फूल चाहिन्छ ।समयमा फूल नफुल्दा अधिकांश चेलीको तिहार खल्लोजस्तै भएको छ । आफ्ना दाजुभाइलाई लगाउने माला उन्ने फूलसमेत नभएपछि चेलीहरू चिन्तित छन् । तिहार छिटो भएको र फूलको कोपिला नै रहेकाले अभाव भएको हो । सदरमुकाम आसपास कृत्रिम फूलको प्रयोग गरिए पनि गाउँघरमा समस्या छ ।घर वरपर बारी तथा बगैंचामा रोपेको फूलले मनग्य पुग्दो हुने यहाँका बासिन्दालाई यस वर्ष फूलको अभाव छ । समयमा नफुलेका कारण उनीहरूलाई चरम अभाव भएको बताउँछन् । सदाको तिहारमा नफुल्दा पनि ८० प्रतिशत फुलेको हुन्थ्यो । यसबर्ष चालिस प्रतिशत पनि फक्रन नपाएको स्थानीय रेनुका राईले बताइन् ।
समाचार
रामारोशनको विकासमा साझा प्रतिबद्धता
- कान्तिपुर संवाददाता
अछाम (कास)– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन क्षेत्रको विकास र प्रवद्र्धनका लागि अछाम र कालिकोटका ३ गाउँपालिकाले संयुक्त पहल सुरु गरेका छन् । अछामको रामारोशन तथा कालिकोटको शानित्रिवेण्ी र नरहरिनाथ गाउँपालिकाले संयुक्त रूपमा गुरुयोजना निर्माण गरी रामारोशन पर्यटकीय क्षेत्रको विकासमा अग्रसरता देखाएका हुन् । प्रदेश ६ र ७ का यी गाउँपालिका जनप्रतिनिधिले रामारोशनमै संयुक्त बैठक गरी साझा प्रतिबद्धता जनाएका हुन् । रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद नेतृत्वमा भएको प्रारम्भिक छलफलले पर्यटकीय क्षेत्रको विस्तार र विकासका लागि गुरुयोजना निर्माण गर्ने, सेती लोकमार्ग हुँदै हिल्सा जोड्ने टयाक खोल्न पहल गर्ने, अन्तर प्रादेशिक सडक बनाउन संयुक्त पहल गर्ने, रामारोशन जैविक क्षेत्रको विकास, विस्तार र त्यसको व्यवस्थापन गर्ने र बालविवाह न्यूनीकरणका लागि समेत साझा पहल गर्ने सहमति भएको हो ।अध्यक्ष साउदले रामारोशनसँग जोडिएका कालिकोटका २ गाउँपालिका हरेक तहबाट उत्पीडिन र उपेक्षामा परेको हुँदा स्थानीय सरकार निर्वाचित भइसकेपछि रामारोशनमार्फत उक्त क्षेत्र समृद्ध बनाउन साझा पहल गरिएको बताए । कालिकोटको शान्नित्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही र नरहरिनाथका प्रवक्ता गगनबहादुर फडेरासहित जनप्रतिनिधिको टोलीले असोज ३० मा रामरोशन पर्यटन क्षेत्रमै सामूहिक बैठक सम्पन्न गरेका हुन् ।
समाचार
फोहोरमैला व्यवस्थापनमा परनिर्भर नगरपालिका
- शिल्पा कर्ण
काठमाडौं (कास)– महानगरको फोहोरका विषयमा पटकपटक कुरो उठे पनि अन्य नगरपालिकामा समेत ओखरपौवा बन्दको असर पर्ने गरेको छ । त्यसैले केही नगरपालिका उपयुक्त ल्यान्डफिल साइटको खोजीमा छन् । फोहोर व्यवस्थापन गर्न नसक्दा स्थानीयको गुनासो आउनुका साथै नगर फोहोर देखिने उनीहरू बताउँछन् । नुवाकोटको सिसडोलमै सबै नगरपालिकाले फोहोर फाल्ने गरेकाले त्यहाँ बन्द हुनेबित्तिकै सबै नगरमा फोहोर बढेको छ । दक्षिणकाली नगरपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । आगामी ६ महिनाभित्रमा पक्की सडक बनेर पर्यटक बढ्ने भएकाले फोहोरमैला पनि बढ्नेमा जनप्रतिनिधि सचेत छन् । यद्यपि अहिलेसम्म नगरपालिकाले फोहोर फाल्ने डम्पिङ साइट खोज्न सकेको छैन । मेयर मोहन बस्नेतले भने, ‘हाम्रो नगरपालिकामा उत्पादन भएको फोहोर यतै कतै व्यवस्थित गर्न खोजिरहेका छौं । फोहोरलाई प्रशोधन गरि मल बनाउने र अन्य फोहोर फाल्ने स्थानको एक महिनाभित्र खोजी गरिसक्छौँ ।’दक्षिणकाली नगरपालिकामा जनप्रतिनिधि आउनुअघि नजिकैको त्रिभूवन आदर्श विद्यालय फर्पिङ नजिकको चौरमा फाल्ने गर्दा पटक पटक विवाद हुने गरेको थियो । नपासँग रहेको एकमात्र फोहोर फाल्ने गाडिले भ्याएसम्मको फोहोर ओखरपौवामा फाल्ने गथ्र्यो । अहिले त्यहाँको एउटा गैरसरकारी संस्थाले फोहोर उठाएर चोभारमा फिल्टर गरि गर्ने गरेको छ । तर नगरपालिकासँग समन्वय गरेको छैन । पटकपटकको छलफल भएपनि शुल्क बढी भएको भन्दै कुरा नमिलेको हो । दक्षिणकालीका अधिकांश भू–भाग ग्रामीण इलाका भएकाले खासै फोहोर उत्पादन नहुने मेयर बस्नेतले बताए । तारकेश्वर नगरपालिकाको नेपालटारमा केही स्थानमा ‘फोहोर फाले २०० देखि ५०० जरिवाना गरिनेछ’ भनी बोर्ड राखिएको देख्न सकिन्छ । तर नगरमा उत्पादित फोहोर उक्त नपा स्वयंले व्यवस्थापन भने गर्न सकेको छैन, निजी संस्थाकै भर परेको छ । तारकेश्वर सरसफाइ तथा वातावरण संरक्षण प्रालिले घरधनीसँग पैसा उठाएर फोहोर व्यवस्थापन गर्ने गरेको नगरपालिकाको भनाइ छ । तर सहरी क्षेत्र, जहाँ बढी फोहोर उत्पादन हुन्छ सो क्षेत्रमा मात्र उक्त संस्थाको गाडी आउने गरेको छ । दैनिक औसतमा १२ टन फोहोर उत्पादन हुने तारकेश्वरमा जनप्रतिनिधि आएपछि पनि पुरानै फोहोर व्यवस्थापन प्रणाली छ । मेयर रामेश्वर बोहोराले लगानी बोर्डले राजधानीका सबै नगरपालिकाको फोहोर व्यवस्थापन गरिदिने विषयमा अध्ययन थालेकाले बिचमा कुनै संस्था विशेषसँग फोहोर व्यवस्थापनको सम्झौता नगरिएको बताए । ‘हामीले लगानी बोर्डलाई अनुमति दिइसकेका छौं । अहिले फोहोर उठाइरहेको संस्थासँग राजस्व उठाएका छैनौं,’ बोहोराले भने ।
समाचार
मिठाइ र मालाको उच्च माग
तिहारमा मात्रै ५० लाखभन्दा बढीको खपत
- भवानी भट्ट
तिहारलाई लक्षित गरी जनकपुरमा बिक्रीका लागि राखिएको मिठाइ पसल । तस्बिर : भवानी/कान्तिपुर
कञ्चनपुर– चाडपर्वका बेला नुन तेलदेखि खाद्यान्नलगायतको कारोबार बढी हुन्छ । फलफूल र मिठाइको कारोबार त अझ बढी हुने गर्छ । अन्य समयकोभन्दा तिहारमा मिठाइको माग निकै बढी हुने स्थानीय बताउँछन् । कतिपय व्यवसायीले मागअनुसार मिठाई उत्पादन गर्नै सक्दैनन् । कञ्चनपुरको महेन्द्रनगर र आसपास बजारमा मात्रै ५०/६० लाखभन्दा बढीको मिठाइ बिक्री हुने गरेको व्यवसायीले बताए । उनीहरूका अनुसार तिहारका बेला २/३ दिनमै एउटै पसलबाट अढाइ/तीन लाखको मिठाइ बिक्री हुने गरेको छ । ‘तिहारका बेला ३/४ क्विण्टलभन्दा बढी मिठाइ बेचिन्छ,’ महेन्द्रनगरमा एक दशकदेखि मिठाइ व्यवसाय गर्दै आएका हरिस साउदले भने, ‘दैनिक १ क्विण्टलभन्दा बढी खपत हुन्छ ।’महेन्द्रनगरमा मिठाई प्रतिकिलो ४ देखि ६ सयसम्ममा पाइन्छ । स्थानीय उपभोक्ताले सिमावर्ती बजारबाट समेत किनेर ल्याउने गर्छन् । यसका साथै खेलौना मिठाइको माग पनि उत्तिकै बढेको छ । बजारका विभिन्न ठाउँमा तिहारलाई लक्षित गरी खोलिएका पसलमा प्लास्टिकका माला, देवीदेउताका तस्बिर र खेलौना मिठाइ छ्यापछ्याप्ती पाइन्छ । सिमावर्ती बजारबाट ल्याइएको उक्त मिठाइ प्रतिकिलो डेढ सय रुपैयाँसम्ममा पाइन्छ । ‘तिहारको दुई/तिन दिनमा मिठाइ माग निकै बढ्छ,’ डेढ दशकदेखि महेन्द्रनगरमा व्यवसाय गर्दै आएका जयप्रकाश गुप्ताले भने, ‘उपभोक्ताको मागअनुसार पुर्याउँनै सकिँदैन ।’ उनका अनुसार सामान्य अवस्थामा पनि दैनिक ५/७ हजारको बिक्री हुने गरेको छ । महेन्द्रनगर र आसपासका बजार क्षेत्रमा दुई दर्जनभन्दा बढी मिठाइ पसल छन् । सबैले यतिबेला अन्य समयको भन्दा राम्रो कारोबार गर्छन् । व्यवसायीले तिहार लाग्नु तीन/चार दिनअघि नै भारतबाट कारिगर बोलाएर मिठाइ बनाउन थाल्छन् । जताततै रंगको मिसावटकारोबार बढे पनि अधिकांशले रंग मिसाएर बनाउने गरेको पाइएको छ । स्थानीय अनुगमन समितिले नियमितता नदिँदा रंग मिसाइएको मिठाइ धमाधम बिक्री भइरहेको हो ।व्यवसायी खाने रंग भन्दै गुणस्तरहीन मिठाइ बेचिरहेका छन् । उपभोक्ताले पनि रंग मिसाएकै मिठाइ खोज्ने गरेको उनीहरू बताउछन् । ‘रंग नहालेको त उपभोक्ताले खोज्दै खोज्दैन,’ गुप्ताले भने, ‘त्यही भएर हामीले अलिकति भए पनि रंग हाल्नै पर्छ ।’
समाचार
लक्ष्मी स्मृति पुरस्कार ढकाललाई
छोटकरी
- कान्तिपुर संवाददाता
हेटौंडा (कास)– महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्तीमा बिहीबार हेटौंडामा लक्ष्मी स्मृति साहित्यिक पुरस्कार प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिका ११ नवलपुरस्थित युग प्रकाश क्लब र साहित्य संगम मकवानपुरको संयुक्त रुपमा आयोजित कार्यक्रममा साहित्यकार साम्ब ढकाललाई लक्ष्मी स्मृति साहित्यिक पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार राशि १० हजार १ रुपैयाँको छ । उक्त पुरस्कार लक्ष्मी जन्मजयन्तीमा वर्षेनी प्रदान गर्ने गरिएको छ ।उक्त पुरस्कार वरिष्ठ साहित्यकार तुल्सी थापाले प्रदान गरेका हुन् । हेटौंडा ११ त्रिभुवन माविको प्राङ्गण परिसरमा रहेको देवकोटाको प्रतिमामा फूलमाला अर्पण गरेपछि पुरस्कार प्रदान र प्रवचन कार्यक्रम थालिएको थियो । कार्यक्रममा साहित्यकारहरू तुल्सी थापा, निमेष निखिल, घनश्याम घिमिरेलगायतले महाकवि देवकोटाकाबारे चर्चा गरेका थिए ।
समाचार
मानव अधिकार चिन्ताजनक
छोटकरी
- कान्तिपुर संवाददाता
रोल्पा (कास)– विगतको सशस्त्र द्वन्द्वबाट बढी प्रभावित जिल्लामा मानवअधिकार अवस्था सन्तोषजनक हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । द्वन्द्वले निम्त्याइएका अधिकांश समस्या सम्बोधन गर्न र नागरिकका हकअधिकार प्रत्याभूत गर्न राज्य थप गम्भीर हुनुपर्ने उनीहरूले धारणा राखेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले लिबाङमा आइतबार गरेको मानवअधिकार, लैङ्गिक हिंसा, कानुनको शासन र सामाजिक न्यायसम्बन्धी अनुशिक्षण कार्यक्रमका सहभागीले विगतको द्वन्द्व प्रभाव कायमै रहेको बताए । राज्यले नागरिक सुरक्षा, सेवा प्रवाह तथा विकास योजनामार्फत नागरिकलाई पूर्णरूपमा साथ दिन तदारुकता देखाउनुपर्ने सहभागीको सुझाव छ । अनुशिक्षणमा कार्यपत्र प्रस्तुत गर्दै उपसचिव लोकहरि बस्यालले राज्यले जनताको अधिकारलाई सम्मान गर्दै सबै प्रकारको अधिकार प्रत्याभूत गर्न लागिपरेको बताए । ‘नागरिकले राजनीतिक, सामाजिक तथा मानव अधिकार रक्षा गर्न राज्यले आधिकारिक रुपमा योजना बनाएको छ,’ उनले भने, ‘मानव अधिकार राष्ट्रिय कार्ययोजना निर्माण गरेर राज्यले नागरिक अधिकारलाई सुनिश्चित गर्न थालेको छ ।’
समाचार
तनहुँमा सांस्कृतिक महोत्सव
छोटकरी
- कान्तिपुर संवाददाता
पोखरा (कास)– दमौलीमा बुधबारदेखि आदिवासी जनजाति सांस्कृतिक महोत्सव हुने भएको छ । आदिवासी जनजाति महासंघ तनहुँको आयोजनामा हुने १० दिने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सचिव बसुन्धरा घर्तीले बताइन । विपी वन बाटिकामा हुने महोत्सवमा कृषि, व्यापार, घरेलु, हस्तकला र व्यापार व्यवसायलगायतका १ सय ९० स्टल राखिने भएको छ ।
समाचार
तास, जुवा खेल्ने १७ पक्राउ
छोटकरी
- कान्तिपुर संवाददाता
विराटनगर (कास)– महानगरपालिका १७ स्थित निरज श्रेष्ठको घरमा जुवा खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । तास जुवा खेलिरहेको स्थानबाबट २ लाख २८ हजार रुपैयाँभन्दा बढी र तास जुवा खेल्न प्रयोग गरिएका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।
प्रदेश समाचार
लार्चामा पुल कहिले ?
- अनिश तिवारी
सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिकाको तातोपानी नाका जोड्ने लार्चास्थित मोटरेबल पुल भास्सिएपछि हालै बनाइएको फड्के । तस्बिर : अनिश/कान्तिपुर
सिन्धुपाल्चोक– सरकारी अधिकारी र राजनीतिक दलका नेताहरूले भोटेकोसीमा झरेको पुलको बदला महिनाभित्रै बेलिब्रिज राखेर यातायात सञ्चालन गर्ने घोषणा गरेको तीन महिना बितेको छ । तर, यस अवधिमा सामग्री ढुवानी र जग निर्माणको सुरुवातबाहेक थप प्रगति हुन सकेको छैन । यसबाट चीनको सीमा तातोपानी र आसपासका बासिन्दा यातायातबाट वञ्चित छन् । बिरामीको उपचार, खाद्यान्न तथा औषधि ढुवानीमा सबैभन्दा बढी समस्या छ । साउन ८ गते राति स्थानीय पाङ्सेर्पु पहाड खसेर लार्चाको मोटरेबल पुल भोटेकोसीमा झरेको थियो । पुल भत्केपछि सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले घटनास्थलको निरीक्षण गरी साताभित्रै बेलिब्रिज निर्माण सुरु हुने जनाएका थिए । त्यतिबेला कांग्रेस, एमाले र माओवादीका स्थानीय नेताले समेत यही रटान लगाए । पुल बनाउन आफ्नो पार्टीले पहिले पहल गरेको भन्दै कार्यकर्ताले गाउँगाउँमा नारा लगाए । अहिले उनीहरू चुपचाप छन् । पुुल भोटेकोसीमा झरेलगत्तै निर्माण सामग्री ल्याइएको थियो । अहिले भने कामै रोकिएको छ । २–४ जना कामदार लगाएर जग खनेजस्तो गरिएको छ । सडक डिभिजन कार्यालयकी इन्जिनियर शीला न्यौपानेले सुख्खा पहिरो र भौगोलिक जटिलताले पुल निर्माण रोकिएको बताइन् । सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) हजारिलाल जैसवालका अनुसार लार्चामा मोटरेबल पुलको स्थानमा बेलिब्रिज नबनेसम्म तातोपानीसँगको सम्पर्क बलियो बन्न सक्दैन । ‘सुख्खा पहिरोले कोसी थुनियो भने अस्थायी रूपमा बनाइएको फड्के बगाउन सक्छ,’ उनले भने, ‘कोसीमाथिको ढुंगामा अड्याइएको फलामे पुल सुरक्षित छैन । स्थानीय आउजाउ गर्न डराउने गरेका छन् ।’ भत्किएको पुलको अवशेष थुप्रिएकाले कोसी बग्ने स्थान साँघुरिएको छ । ‘पुल भत्किएपछि तातोपानी दुर्गमसरह भयो,’ स्थानीय वीरबहादुर तामाङले भने । बर्खासँगै खसेको पहिरो हालसम्म थामिएको छैन । २२ सय धुरीको बसोबास रहेको तातोपानीमा यात्रा जोखिम बन्दै गएपछि अधिकांशले घर छोडेका छन् । विपन्न परिवार मात्रै जोखिम मोलेर आफ्नै थलोमा बसिरहेका छन् । खाद्यान्नले केही समय पुग्ने भए पनि स्वास्थ्य, शिक्षा, विद्युत् र टेलिफोनविहीन हुँदा उनीहरू समस्यामा परेका हुन् ।
यातायात रोकिँदा कृषक मारमा
दुर्गम जुगल गाउँपालिका जोड्ने सडक सञ्चालन नहुँदा कृषक मारमा छन् । उनीहरूले उत्पादित सामग्री बिक्रीका लागि बजार पुर्याउन सकेका छैनन् । ‘सडक क्षतिग्रस्त छ, त्यसैले उत्पादन बजारमा लैजान पाएनौं, घरमै थुप्रिएर बस्यो,’ जुगल गाउँपालिका गोल्चेका सलिन तामाङले भने, ‘बल्लतल्ल उब्जाएको उत्पादन बेच्न नपाउँदा घरखर्च धान्न मुस्किल छ ।’ हिमाली गाउँ गोल्चेसम्म जोडिएको सडक सधैं बर्खापछि ठप्प हुने गरेको छ । बर्खाले सडक भासिएपछि यातायात पूर्णरूपमा बन्द छ । असोज लागिसक्दा अझै सडक सञ्चालनमा आउन सकेको छैन । जुगलका कृषकको मुख्य आयस्रोत आलु र कोदो हो । उत्पादित सामग्री लामो समय घरमै थन्किँदा कुहिएर बिग्रने अवस्थामा पुगिसकेको कृषकको भनाइ छ । आलु बिग्रने डरले प्राय:ले खेतमै छोपछाप पारेर कुर्ने गरेका छन् । आलु नबिग्रने आसमा कृषकले यस्तो गरेको सलिनले प्रस्ट्याए । ‘सडक चल्दा घरमै साहू उत्पादन लिन आइपुग्थे, नत्र हामी जलवीरे बजारमा लिएर पुग्थ्यौं,’ हगामका नकुल तामाङले भने, ‘यसपल्ट धेरैले आलु बिग्रने डरले ढिलो गरी खनेका छन्, प्राय:ले खेतमै थन्काएका छन् ।’ नकुलका अनुसार दुर्गम सेलाङ, गोल्चे, हगाम, पाङताङदेखि गुम्बासम्म जोड्ने सबै सडक तहसनहस छन् । ‘हाम्रो आयको मुख्य स्रोत आलु हो,’ उनले भने, ‘यही बिक्री नभएपछि कसरी घर चलाउने हो ?’ उनले उत्पादन बेच्न नपाएकाले यो वर्षको दसंै ऋण लिएर मनाएको बताए ।
गएको दसंैमा आलु बेचेर ४० हजार कमाएका नकुललाई यस वर्ष दसंैले २० हजार ऋण बोकाएर गएको छ । बलेफी गाउँपालिकाको जलवीरे बजारसम्म उत्पादन बोकेर लैजान पाँच घण्टासम्म लाग्ने भएपछि आँट गर्न नसकेको उनको भनाइ छ । ‘बाटो हिलाम्मे छ । लामो समय लाग्ने भएपछि सवारीसाधन आउन मान्दैनन्,’ नकुलले भने, ‘बोकेरै लैजान जलवीरे बजारसम्म धेरै गाह्रो छ ।’ उनले जुगल गाउँपालिका कार्यालयमा सडकसम्बन्धी समस्या राख्दा चाँडै मर्मत अघि बढाउने आश्वासन पाएको बताए । ‘सडकको समस्या साँच्चै जटिल बनेको छ, यसको कहिल्यै स्थायी मर्मत हुन सकेको छैन,’ जुगल गाउँपालिकाकी उपप्रमुख सिर्जना तामाङले भनिन्, ‘अब चाँडै सडक स्थायी बनाउन काम अगाडि बढाउने तर्खरमा छौं ।’ उनले गाउँपालिकाले कृषकलाई आत्मनिर्भर बनाउन अन्य सीपमूलक तालिम दिने कार्यक्रम बनाइरहेको सुनाइन् । कृषि पेसामा निर्भर जुगलवासीको प्रमुख उत्पादन आलु जलवीरे, बलेफीदेखि राजधानीसम्म खपत हुने गरेको छ । तर, अहिले सडककै समस्याले उत्पादन बजार पुग्न नसकेको उपप्रमुख तामाङले जानकारी दिइन् ।
प्रदेश समाचार
तिहारसँगै चुनावी रौनक
- कमल पन्थी,घनश्याम गौतम
गुलरिया/गुल्मी– बर्दियाका सहर र ग्रामीण क्षेत्रका घरआँगनमा अहिले तिहारसँगै चुनावी रौनक छाएको छ । घर रंगीचंगी बनाइएका छन् । स्थानीय बासिन्दा ठूला दलबीचको चुनावी तालमेल र सम्भावित जित/हारबारे चर्चा गरिरहेका छन् । जिल्लामा प्रतिनिधिसभाका लागि २ निर्वाचन क्षेत्र तोकिएको छ । प्रदेशसभाका लागि ४ क्षेत्र छन् । एमाले र माओवादी केन्द्रबीच तालमेलपछि एमालेले प्रतिनिधिसभा सदस्यमा क्षेत्र नम्बर १ बाट वामदेव गौतमलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । गौतम चुनावको तयारीमा जुटिसकेका छन् । २०४८ सालयता गौतम उक्त क्षेत्रबाट ६ पटक चुनाव लडिसकेका छन् । चार पटक जितेका छन् ।एकतापछि क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा परेको छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्न माओवादीका नेताबीच मनमुटाव भइरहेको छ । कांग्रेसले क्षेत्र नम्बर १ मा सिँचाइ मन्त्री एवं पार्टी सभापति सञ्जयकुमार गौतमको नाम सिफारिस गरेको छ । २ मा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणालाई प्रतिनिधिसभा उम्मेदवार बनाउन आग्रहसहित नाम सिफारिस गरिएको जनाएको छ । ‘राणाले क्षेत्र नम्बर २ मा उम्मेदवारी दिए माओवादी र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ,’ मधुवन–४ का रणबहादुर डाँगीले बताए । माओवादीको असोज ८ गते बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं. १ बाट विष्णु थारूको नाम सर्वसम्मत र २ बाट केन्द्रीय सदस्य तिलक शर्मा, सुरेश पन्त र बिनाविभागीय मन्त्री शन्तकुमार थारूको नाम सिफारिस गरेको थियो । क्षेत्र नम्बर १ बाट एमाले नेता गौतम उठ्ने भएपछि माओवादी केन्द्रको भागमा परेको २ मा उम्मेदवार बन्न पार्टीका तीन नेताबीच प्रतिस्पर्धा चलेको छ । पार्टी इन्चार्ज रहेका शर्माले पार्टीभित्र विवाद नरहेको र र केहीले बखेडा झिकेको बताए ।
तालमेलले अलमल
गुल्मीमा ठूला दलबीच तालमेलको अन्योल र उम्मेदवार टुंग्याउन ढिलाइले चुनावी माहोल सोचेजसरी तात्न सकेको छैन । यद्यपि स्थानीय बासिन्दा सम्भावित उम्मेदवारबारे आकलन गर्न थालिसकेका छन् । चोक र चियापसलमा कुन उम्मेदवारले टिकट पाए जित्न सजिलो होला भनी चर्चासँगै तालमेलको प्रभावबारे छलफल भइरहेको सुनिन्छ । यहाँ प्रतिनिधिसभाका लागि २ र प्रदेशका लागि ४ निर्वाचन क्षेत्र छन् । अहिलेसम्म एमालेबाट प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ बाट प्रदीप ज्ञवाली र २ बाट गोकर्ण विष्टको टुंगो लागेको छ । कांग्रेसबाट १ मा चन्द्र भण्डारी र २ बाट चन्द्र केसीको सम्भावना रहे पनि निर्णय भइसकेको छैन । दुवै क्षेत्रमा एमाले कार्यकर्ताले चुनावी बैठक, भेला र छलफल सुरु गरिसके पनि कांग्रेसमा अन्योल छ । एमाले र माओवादी केन्द्र गठबन्धनविरुद्ध कांग्रेस एक्लै भिड्ने तयारीमा छ । प्रतिनिधिसभामा दुवै क्षेत्र एमालेले पाएकाले ४ मध्ये प्रदेशसभामा २ क्षेत्र माओवादीले लिएको छ । माओवादी जिल्ला इन्चार्ज दिनेश पन्थीले दुई प्रदेश क्षेत्र पार्टीले पाउने निश्चित भइसकेको बताए । ‘हाम्रा तर्फबाट पनि उम्मेदवारको टुंगो लगाउने तयारीमा छौं,’ उनले भने, ‘केन्द्रीय स्तरमा सहमति भइसकेको जानकारी आएको छ ।’ नागरिक अगुवा पदमप्रसाद पाण्डेले उम्मेदवार टुंगो नलाग्दा जिल्लामा चुनावी माहोल नबढेको बताए । ‘जिल्लामा अहिले नै दल प्रचारप्रसारमा जुट्ने अवस्था नै देखिएन,’ उनले भने, ‘तालमेल र केन्द्रकै अन्योलले निर्वाचन माहोल बनेको छैन ।’
७ हजार आवेदन
बर्दियामा म्यादीका लागि १ हजार ५ सय १४ जना माग गरिएकोमा ६ हजार ९ सय ३३ जनाले आवेदन दिएका छन् । स्थानीय तह निर्वाचनका बेला १ हजार २ सयका लागि ५ हजार ४ सयले निवेदन दिएका थिए । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार पूर्वनेपाली सेनाबाट ६८, पूर्वनेपाल प्रहरीबाट ३२ र पूर्वसशस्त्र प्रहरीबाट ८ जनाले निवेदन दर्ता गराएका छन् । पूर्वम्यादी प्रहरी पुरुषबाट ३ सय ७२ र महिलाबाट २ सय ६ जनाले निवेदन दिएको उनले जनाए । त्यसैगरी सर्वसाधरणतर्फ ४ हजार ६ सय २६ पुरुष र १ हजार ६ सय २१ महिला छन् । म्यादीका लागि दौड, शारीरिक अवस्था, नैतिक आचरणलगायत विषयमा छानबिन र प्रशिक्षणमार्फत छनोट गरिँदै छ ।
प्रदेश समाचार
छुट्टाछुट्टै दुर्घटनामा ७ को मृत्यु
- कान्तिपुर संवाददाता
काठमाडौं (कास)– विभिन्न स्थानमा भएका दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । डोटीको बड्डीकेदार गाउँपालिका खड्यौलीमा बस खस्दा ३ जनाले ज्यान गुमाएका छन् । घाइते २१ जनालाई उपचारका लागि धनगढीतर्फ लगिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा डोटीको बड्डीकेदार ४ मान्नाकापडीका जगदीश चन्द, निर्मला पुनमगर र पुष्पाकुमारी जेठारा छन् । सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नम्बर बस अत्तरकाडाबाट धनगढीतर्फ २४ यात्रु बोकेर फर्कंदै गर्दा सडकबाट भन्डै डेढ सय मिटर तल खसेको प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले बताए । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ डन्डामा बिहीबारै भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । रोकिराखिएको ना६ख १६५३ नम्बर ट्रकमा ना४३प ८४०५ नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका ६ का प्रकाश महतो र अनिल महतोको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । यसैगरी सुनसरीका दुई स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् । दुहबी भलुवा नपा–४ मा भारतीय ट्रकले ठक्कर दिँदा को२०प ६०५९ नम्बर मोटरसाइकलमा सवार २५ वर्षीय पुन्तोष चौधरीको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमै सवार सञ्जय सुब्बा र कृष्ण विश्वास घाइते भएका छन् । यस्तै इटहरी उपमहानगर–१७ मा बा१३ज ३३४१ नम्बरको कार र को११प ८०८५ नम्बर मोटरसाइकल जुध्दा सुनसरीको रामधुनी नगरपालिका ४ का उपेन घिमिरेको मृत्यु भएको छ । मोटरसाइकलमा सवार २२ वर्षीय कमल घिमिरे घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रदेश समाचार
पिछडिएको क्षेत्र माग्दै आन्दोलन चेतावनी
- कान्तिपुर संवाददाता
हुम्ला (कास)– सरकारले पिछडिएको क्षेत्र सूचीकृत गर्दा जिल्लाको वस्तुस्थिति अध्ययन नगरी तीनवटा गाउँपालिकालाई हचुवाका भरमा हटाएको भन्दै स्थानीयले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । संघ र प्रदेशसभा निर्वाचनमा समानुपातिक सांसद मनोनयन प्रयोजनले सरकारले असोज २ गते तय गरेको पिछडिएको क्षेत्रको सूचीमा जिल्लाका ७ मध्ये दक्षिणी भेगका ४ गाउँपालिका मात्र सूचीकृत गरेपछि स्थानीयले विरोध जनाएका हुन् । एमाले जिल्ला अध्यक्ष दल रावलले हचुवाका भरमा हुम्लाका तीन गाउँपालिकालाई पिछडिएको क्षेत्रको सूचीबाट हटाइएको भन्दै असन्तुष्टि व्यक्त गरे । यो सूचीले स्थानीयलाई अन्याय भएकाले सच्याउनुपर्ने उनको भनाइ छ । चंखेली, ताजाकोट, अदानचुली र सर्केघाट गाउँपालिकालाई मात्र पिछडिएको क्षेत्रमा सूचीकृत गरिएको छ । उत्तरी तिब्बत सीमा जोडिएको नाम्खा, सिमकोट र खार्पुनाथलाई हटाइएको छ । नाम्खाको लिमीका बासिन्दा अहिले पनि उत्तिकै पीडित छन् । हिमालपारिको यो गाउँ हिउँदका ६ महिना राज्यसँग सम्पर्कविहीनै हुने गरेको छ । गाउँपालिका केन्द्र यालबाङ पुग्न झन्डै ५ हजार मिटर उचाइको लेक पार गर्दै चार दिन हिँड्नुपर्छ ।आफ्नो उत्पादनले खान नपुग्ने यहाँका बासिन्दा चीनको बजारमा निर्भर रहँदै आएका छन् । पूरै गाउँपालिकाको अवस्था उस्तै छ । यहाँ बौद्ध धर्मावलम्बीको बसोबास छ । सिमकोट र खार्पुनाथ गाउँपालिकामा पनि जनजातिको बस्ती छ । तर, उनीहरू पिछडिएको क्षेत्रको सूचीबाट बाहिर राखिएका छन् ।राज्यले सबैलाई समान रूपले हेर्नुपर्नेमा जिल्लाको उत्तरी भेगका तीन गाउँपालिकालाई अन्याय गरेको नाम्खाका अध्यक्ष विष्णुबहादुर लामाले बताए । सडक नपुगेको र विकासका अन्य पूर्वाधारसमेत नभएका गाउँपालिकालाइ पिछडिएको क्षेत्रबाट हटाउँदा मर्का परेको उनको दुखेसो छ । सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सरकारी निर्णयविरुद्ध आन्दोलनमा जाने बताए । माओवादी केन्द्रका जिल्ला संयोजक विजय भण्डारी पनि तीन गाउँपालिकालाई पिछडिएको क्षेत्रबाट हटाउनु गलत ठान्छन् ।
‘हाम्रो सहमति छैन’
नेपालगन्ज– स्थानीय विकास तथा संघीय मामिला मन्त्रालयका सचिव दिनेश थपलियाले पिछडिएको क्षेत्र घोषणामा आफूहरूको असहमति रहेको बताए । ‘यो प्रस्ताव र निर्णय दुवै गृहमन्त्रालयको हो,’ उनले भने, ‘प्रस्ट मापदण्ड र आधार बनाएर छुट्याएको देखिएन । त्यसैले हाम्रो असहमति छ ।’देशभरका ७ सय ५३ स्थानीय तहमध्ये निश्चित सूचकका आधारमा पिछडिएको क्षेत्र घोषणा गर्नुपर्ने थपलिया बताउँछन् । ‘अल्पसंख्यक, पिछडिएको जातिको जनसंख्या, साक्षरता, गरिबी, मोटरबाटो, पिउनेपानी र भौगोलिक सुगमतालाई आधार मानेर विश्लेषण गरिनुपर्छ’ उनले भने, ‘सधैं दुर्गमताको लाइसेन्स बाँडेर हुन्न । १० वर्षभित्र सबै दुर्गम क्षेत्रलाई सुगम बनाउने योजना पनि सँगै ल्याउनुपर्छ ।’
प्रदेश समाचार
पाइनै छाडे मखमली
- पूर्ण बीके
पोखरा– भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई मखमली जस्तै कहिल्यै नओइलिनु भन्दै दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै माला लगाइदिने चलन छ । तिहारमा धेरै बिक्री हुनेमध्येको फूल मखमली भने पोखराको बजारमा निकै दुर्लभ छ । सयपत्रीको खेती बढाए पनि नर्सरी व्यवसायीको ध्यान मखमली उत्पादनमा पुगेको छैन । माला गाँस्न झन्झटिलो हुने भन्दै फूलखेती गर्ने किसान मखमली छाडेर सयपत्रीमात्रै फुलाएर बसेका छन् । पोखराको बजारमा मखमलीको माला नपाएपछि आफूले १० हजार खर्चेर भक्तपुरबाट झिकाएको गैह्रापाटनका पुष्पव्यवसायी सीताराम सापकोटाले बताए । दुई रोपनी जमिनमा फूलखेती गरेका सापकोटा आफैंले पनि माला गास्न झन्झटिलो मानेर मखमली रोप्न छाडेका हुन् । ‘मखमलीको माला गास्ने खेतालाको ज्याला पनि चर्को पर्छ, अनि खेती गर्नै छाडेँ,’ उनले भने, ‘बिक्री त हुन्छ तर, पोखरामा मखमली रोप्ने चलन व्यावसायिक पाराको छैन ।’ मखमली खेती गर्न सजिलो भए पनि सयपत्री जस्तो थुँगा बेच्न नपाइने र माला नै बनाएर बेच्नुपर्ने भएकाले लागत नै धेरै पर्न आउने किसानको भनाइ छ । व्यापारीले मखमली बाहिरबाट झिकाएका छन् । मखमलीको मालासँगै सयपत्री फूलको गुच्छा बनाएर बेच्दै आएका छन् । त्यस्तो गुच्छा एउटाको एक सयदेखि २ सय ५० रुपैयाँँसम्ममा किनबेच हुने गरेको छ । सयपत्री ठूलो थुंगा र सुनौलो रंगको हुने भएकाले मखमलीको दाँजोमा रोप्ने किसानदेखि बेच्नेसम्मको दृष्टिमा परेको छ । ‘बजारमा सयपत्री फूल एउटै थुँगाको १५ रुपैयाँसम्म पर्छ,’ चिप्लेढुंगाका पुष्प व्यवसायी कृष्ण रानाले भने, ‘मखमलीको थुँगा नभई माला नै बनाउनुपर्छ । झन्झट हुन्छ, म त सयपत्रीको माला नै बेच्छु ।’ पोखराको चिप्लेढुंगा, गैह्रापाटन, छोरेपाटन र पृथ्वीचोकमा सयपत्रीको एउटा मालालाई दुई सय र मखमली एउटा मालाको १ सय ५० मा किनबेच भइरहेको व्यवसायीले बताए । सयपत्री फूल एउटा थुँगाको भने १० देखि १५ रुपैयाँसम्म पर्छ । आफूले सयपत्री फूलको पाँचवटा मालाको एउटा पोका बनाएर हजार रुपैयाँमा बेच्दै आएको अमरसिंह चोककी तारा थापाले बताइन् । उनले हेम्जामा एक रोपनीमा फूलखेती गरेकी छन् । ‘सजिलो सयपत्री छ, त्यही लगाएकी छु,’ उनले भनिन् । गत वर्षभन्दा यसपटक बजारमा मखमलीका माला नपाएर सयपत्रीको किन्नुपरेको रत्नचोककी रजनी जोशीले बताइन् । ‘सयपत्री जसरी ओइलिँदैन, त्यसैले भेटेसम्म पहिलो रोजाइ नै मखमली फूलको माला हो,’ उनले भनिन्, ‘तर, भनेजस्तो मखमली माला नै पाइएन । यसपटकको तिहारमा अब सयपत्रीले नै चित्त बुझाइयो ।’
सम्पादकीय
तिहारको शुभकामना
तिहार सुरु भएको छ । त्रयोदशीकै दिनदेखि तिहार हुने भए पनि औंसीका दिन (यसपालि बिहीबार) बाट यसको रौनक बढ्छ । दसैं सकिएको दुई सातामा आउने चाड तिहार दसैंजत्तिकै उत्साह र उमंगका साथ मनाउने गरिन्छ । दसैंलाई केही समुदायले नमनाउने गरे पनि तिहार भने अधिकांश समुदायले आआफ्नै शैली, परम्परा र गच्छेअनुसार मनाउने गर्छन् । वर्षभरिका दु:खपीडा भुलेर मनाइने यो चाड धार्मिक, सामाजिक, सांस्कृतिक मात्र नभएर आर्थिक दृष्टिले समेत महत्त्वपूर्ण छ । तिहार भन्नासाथ सबैले सम्झने भनेको बत्तीको झिलीमिली, फूलैफूल, देउसीभैलो, भाइटीका, सेलरोटी आदि हुन् । यो पर्वमा बत्ती र फूलले सिँगारेर घरलाई ‘उज्यालो’ बनाउने परम्परा छ । समूह बनाई घरघरमा खेलिने देउसीभैलो सामाजिक सद्भाव वृद्धिका लागि महत्त्वपूर्ण छ । भाइटीका चेली–माइतीबीच सम्बन्ध प्रगाढ बनाउने माध्यम हो । घर सिँगार्ने र देउसी–भैलो खेल्ने चलन हिन्दुइतर समुदायमा पनि व्यापक रूपमै देखिन्छ । तिहार पशु–पक्षीप्रति सम्मान प्रकट गर्ने चाड पनि हो । यो पर्वको पहिलो दिन कागको पूजा गरिन्छ । तिहारलाई यमराजसम्बन्धी मिथकसँग जोडेर हेरिन्छ । कागलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ । कागलाई सन्देशवाहकसमेत मानिन्छ । दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई पनि यमराजको दूत मानिन्छ । कुकुर बफादार प्राणी रहेकाले समेत पूजा गरेर सम्मान गर्ने चलन छ । तेस्रो दिनलाई गाईतिहारे औंसी भनिन्छ । त्यस दिन गाई र लक्ष्मीको पूजा गरिन्छ । हिन्दु धर्मावलम्बीले गाईलाई माताका रूपमा लिन्छन् । धनधान्यकी देवी र ऐश्वर्यकी प्रतीक मानेर साँझ घरघरमा लक्ष्मीपूजा गर्ने चलन छ । चौथो दिन गोवद्र्धन पूजा गरिन्छ । पाँचौं दिन भने भाइटीका पर्छ । यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाइदिन्छन् ।
बदलिँदो समय र परिवेशअनुरूप चाडपर्व मनाउने शैली फेरिँदै गएको देखिन्छ । घर साजसज्जा, किनमेललगायतका कारण तिहार खर्चिलो बन्दै पनि गएको छ । विशुद्ध मनोरञ्जनका रूपमा लिइनुपर्ने देउसी–भैलोलाई कतिपयले अर्थ संकलनको माध्यम पनि बनाउने गरेका छन् । यसले विकृति बढाएको भन्दै केही ठाउँमा कसैलाई मर्का नपर्ने गरी दक्षिणा निर्धारण गरिएको पनि पाइन्छ । तिहार कतिपयका लागि जुवा–तास खेल्ने पर्व पनि बनेको छ । तिहारमा पटकाजस्तो विस्फोटक पदार्थ अत्यधिक प्रयोग हुन्छ । विस्फोटक पदार्थले दुर्घटना निम्त्याउने जोखिम पनि उत्तिकै हुन्छ । प्रहरी–प्रशासनले विस्फोटक पदार्थ बेचबिखनमा निषेध गरे पनि प्रयोग घटेको देखिँदैन । विकृतिहरू हटाउँदै र मौलिकता जोगाउँदै सभ्य र सुसंस्कृत ढंगले मनाउन सके चाडपर्वको ओज बढ्छ ।
तिहार किनमेल बढी हुने चाड हो । यही मौकामा कतिपयले मनोमानी मूल्य राखेर उपभोक्ता ठग्ने गरेको पाइन्छ । तिहारमा मिठाईको व्यापार धेरै हुन्छ । तर कतिपय व्यापारीले मिठाईमा स्वास्थ्यमै असर पार्नेखालका अखाद्य रंग मिसाउने गरेको पाइएको छ । अनुगमन र कारबाही गर्ने निकाय कमजोर हुँदा नै बजार लापरबाह बन्ने हो । त्यसैले यस्ता चाडपर्वका बेला सम्बन्धित निकायले निगरानी राख्न जरुरी छ । यसपालि तिहार चुनावी रौनकले छोएका बेला परेको छ । स्थानीय तहको निर्वाचन यही वर्ष भएको छ भने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन संघारमा छ । चुनावमा को–को उम्मेदवार बन्लान्, कसले जित्ला भन्ने विषयमा आम चर्चा र कौतूहल छ । यी दुई चुनावले मुलुकको समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको छ । समृद्धिको चाडका रूपमा समेत लिइने तिहारले सरकार, राजनीतिक दल, नेता, नागरिक सबैमा चुनाव सौहार्दपूर्ण ढंगले सफल पार्ने उत्प्रेरणा प्रदान गरोस् । शुभकामना ।
दृष्टिकोण
कम्युनिस्ट एकता स्वाभाविक कि अस्वाभाविक ?
- श्रीकृष्ण अनिरुद्ध गौतम
श्रीकृष्ण अनिरुद्ध गौतम
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल होस् अथवा अन्य दलहरूले निर्वाचनपूर्व गठबन्धन गरुन्, चुनावी अभ्यासका क्रममा यस्ता घटनालाई सामान्य र स्वाभाविक रूपमा लिनु र लिइनुपर्ने हो । तर एमाले–माओवादी मिलनलाई त्यसरी लिइएन, किनभने तालमेलको घोषणा गर्दा त्यहाँ फुटेका, टुक्रेका कम्युनिस्टहरूलाई एकजुट बनाएर देशै कम्युनिस्टमय बनाउने उद्घोष गरियो । त्यसो गरिँदैनथ्यो भने निश्चय नै यस तालमेललाई पनि अरू राजनीतिक तालमेलझैं सामान्य रूपमा लिइन्थ्यो । अझ भनौं, यसलाई चुनावले मागेको तालमेलमात्र भनिएको हुन्थ्यो भने कुनै गम्भीर खतराको घन्टीका रूपमा लिइने थिएन । हुन पनि एमाले–माओवादीबीच पटक–पटक संयुक्त सत्ता–अभ्यास भएकै हो । ती सत्ता–अभ्यासलाई दुई कम्युनिस्टबीच एकता नभएर वास्तवमा दुई पार्टी बीचको तदर्थ सहकार्यका रूपमा बुझिएको थियो ।तर स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै एमाले र माओवादी केन्द्रले छापामार शैलीमा चुनावी तालमेलको घोषणामात्र गरेनन्, प्रदेशसभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचनपछि पार्टी एकता नै गर्ने समझदारी भइसकेको सार्वजनिक गरे । माथि पनि भनियो, चुनावी तालमेललाई कदाचित् अन्यथा लिन मिल्दैन र दुई पार्टीबीच एकता हुनु पनि कुनै उदेकै मानिहाल्नुपर्ने र तर्सिहाल्नुपर्ने विषय होइन । तर समस्या कहाँ छ भने उनीहरूले जसरी कम्युनिस्ट एक हुने उद्घोष गरे, त्यसमा उनीहरूमा दबेर रहेको साम्यवादी अधिनायकवादको युटोपियाको उद्बोधन भइरहेको पाइयो । त्यतिमात्र होइन, एकातिर कम्युनिस्ट एकताको उद्बोधन भइरहँदा अर्कोतर्फ सिद्धिएका दरबारियाहरूका चिहानमा हलचल हुनथाल्यो । सिद्धिएको दरबारिया चिहानमा हलचलसँगै नयाँ आशंका जन्मिए । कम्युनिस्ट के हुन् भन्ने चिनेका पुस्ता तर्सिए । नयाँ पुस्ता अलमलियो । कम्युनिस्टहरू आफैंलाई भने कम्युनिस्ट भनेको बडो विचित्र प्राणी हो भन्ने पक्कै थाहा नहोला । हुन पनि आफ्ना बारेमा धेरै कमलाई मात्र थाहा हुन्छ । अधिकांशलाई त विलकुल थाहै हुँदैन । त्यसैले उनीहरूलाई कम्युनिस्ट विचित्र हुन्छ, अन्यले आफूलाई कसरी हेर्छन् भन्ने थाहा नहुनु स्वाभाविक हो । कम्युनिस्ट भनेका के हुन्, कस्ता हुन्छन्, अरूले उनीहरूलाई कसरी हेर्छन्, यसबारे यहाँ म संक्षेपमा भन्ने अनुमति चाहन्छु । ईश्वर नमान्ने, धर्मलाई अफिम भन्ने, आफूमा समस्या कहिल्यै नदेख्ने, दोषजति सबै अरूमा मात्रै देख्ने अधिकांश भट्किएका आत्माहरू कम्युनिस्ट चोलामा जन्मेका हुन्छन् । नयाँ जन्ममा पनि उनीहरूमा रत्तिभर आध्यात्मिकता हुँदैन । विरलै मात्र भाग्यमानी हुन्छन्, जो यस्तो विचित्र अवस्थाबाट मुक्त भएर उज्ज्वल नक्षत्रझैं चम्किन्छन् ।
मेरा मनमा कम्युनिस्ट चोला पाएर जन्मनेहरूप्रति विशेष सहानुभूति छ । किनभने कम्युनिस्टहरू एक प्रकारले अभिशप्त प्राणीहरू हुन्, जसमा सौन्दर्यबोध विलकुलै हुँदैन । सौन्दर्यबोधलाई उनीहरू बुर्जुवा विलासिता भन्छन् । प्रेमलाई आत्मिक मिलन मान्दैनन्, विचराहरू जैविक, शारीरिक क्रीडामात्र ठान्छन् । हरेक देहमा अदृश्य सञ्चालक हुन्छ, त्यसैबाट यो सृष्टि व्याप्त छ भन्यो यदि कसैले भने यो कुरा उनीहरूको समझभन्दा पर हुन्छ । त्यसैले यस्ता तत्त्वबोधी विचारलाई बुर्जुवा बुद्धिविलास भनेर पानीखेदो गर्ने गर्छन् । जे घोकिएको, घोकाइएको छ, त्यही मान्छन् । असहमति, विरोध, प्रतिविचार, शास्त्रार्थ, वाद–प्रतिवादलाई उनीहरू बुर्जुवाहरूको मनोविनोद, सर्वहारालाई अलमल्याउने चाल ठान्छन् । वर्तमान विश्वमा यस प्रकारका प्राणीहरू झन्डै–झन्डै लोप भइसकेका छन् । यस प्रकारका प्राणी इसाको अठारौं शताब्दीको युरोपमा पहिलोचोटी देखापरेका र बीसौं शताब्दीको अन्तिम दशकसम्म तिनको संख्या निरन्तर वृद्धि भइरहेको देखिएको थियो । वृद्धि हुनाका कारण थिए र ती कारणहरू आर्थिक थिए । विज्ञानले गरेका एकपछि अर्को चमत्कारका कारण, त्यसबखतको युरोपमा, उत्पादनका क्षेत्रमा वाष्पचालित यन्त्रको प्रवेश भएको थियो । पुँजी अरू क्षेत्रबाट यन्त्रचालित उद्योगहरूमा केन्द्रित हुनथाल्यो । फलस्वरूप, परम्परागत व्यवसाय तथा हस्तचालित घरेलु उत्पादनका क्षेत्रबाट धेरैजसो मानिस औद्योगिक केन्द्रतर्फ स्थानान्तरित हुन बाध्य र आकर्षित दुबै भए । त्यो काल बेलालाई औद्योगिक क्रान्तिको युग भनिएको छ । औद्योगिक क्रान्तिसँगै उत्पादनको प्रवृत्ति र शैली बदलियो । मानिस रोजगारीका लागि ग्रामीण क्षेत्रबाट सहरमा थुप्रिने क्रममा तीव्रता आयो एकतिर भने अर्कातिर कामदारको बढ्दो मागका चल्ते सस्तो अथवा सित्तै श्रमशोषण गर्न ग्रामीण क्षेत्रका निमुखा समुदाय र युरोपीय उपनिवेशहरूबाट बलपूर्वक दासका रूपमा ल्याइएकालाई विभिन्न उद्योगमा श्रमिकका रूपमा राखियो । त्यो काल बेलामा वास्तवमा विगतका सबै अवधारणा र कथ्यहरू विस्थापित र नयाँ मानकहरू स्थापित हुँदै थिए । वाष्प इञ्जिनको आविष्कारका कारण एकातिर उद्योगमा क्रान्ति र अर्कातिर यातायातमा नयाँ प्रविधि भित्रिँंदै थियो । उन्नाइसौं शताब्दीमा त झन् घोडागाडीलाई लिकमा तानेर गुड्ने वाष्पचालित रेलगाडीले विस्थापित गर्दै थियो । पानीजहाजमा इञ्जिन जडान गरिँदै थियो ।
नयाँ प्रविधिका कारण उत्पादन र यातायातमा युगान्तकारी बदलाव आइरहँदा पनि ठूलो मानव समूह भने यस लाभबाट बञ्चित थियो । जबकि यसै समूहको श्रमका बलमा युगको यन्त्र चलिरहेको थियो । उत्पादन र उत्पादित वस्तुको बिक्रीका कारण पुँजीको आकार बढिरहेको तर त्यो पुँजी सीमित व्यक्तिमा केन्द्रित र तिनैमाझ आदान–प्रदान भइरहेको थियो । अंगणित मजदुरहरूको श्रमको चरम शोषण भइरहेको, तिनलाई मानवोचित व्यवहार त परै, जीवन धान्न नै मुस्किल परिरहेको तैपनि तिनीहरू कहिल्यै उन्मुक्ति प्राप्त नहुने शोषण चक्रमा पिसिइरहेका थिए । एकातिर दुर्दान्त शोषण चलिरहेको तर साथसाथै युरोपको त्यो र त्योभन्दा पूर्वको समय विज्ञानका क्षेत्रमा चामत्कारिक आविष्कार र जीवनका यावत पक्षमा बौद्धिक चेतका हिसाबले लोभलाग्दो थियो । जिन ज्याँ रूसोको सामाजिक करारको सिद्धान्त (सोसल कन्ट्राक्ट थियरी), इम्मानुयल कान्टको सार्वजनीन चेतना, फ्रेड्रिक हेगेलको उदारचेता वैचारिक मानवको परिकल्पना र तिनै हेगेलका चेला कार्लमाक्र्सको शोषणमुक्त समाजको आधारशिला राख्ने चिन्तन त्यस युगका उदात्त प्रतिनिधि विचारहरू थिए । रूसो फ्रान्सिसी क्रान्तिका उत्प्रेरकका रूपमा चिनिन्छन् भने माक्र्ससँगै इतिहासलाई हेर्ने एउटा नयाँ दृष्टिकोण जन्मिएको थियो ।
रूसोले स्वतन्त्रता तथा माक्र्सले समानताको आन्दोलनको शिलान्यास गरेको मान्नैपर्छ । रूसो र माक्र्स वास्तवमा एकअर्का विरुद्ध रोजिने पात्र होइनन्, परिपुरक हुन् । तर स्वघोषित माक्र्सका अनुयायीहरूले रूसोलाई छाडे, जहाँ–जहाँ आफूलाई चाहियो, त्यहाँ–त्यहाँ माक्र्सलाई बोके । माक्र्स बोक्दा, हेगेललाई छाडे, कान्ट त तिनीहरू चिन्दै चिन्दैनथे । तिनीहरू नै प्रकारान्तरमा कम्युनिस्टका रूपमा चिनिए । माक्र्सका चिन्तनका आधारमा पछि आएर भ्लादिमिर लेनिनले रूसमा तथा माओ–जे–दुङले चीनमा प्रयोग गरे, तर एकांगी । उनीहरूले रूसो लगायतका स्वतन्त्रता पक्षधर विचारक र चिन्तकहरूलाई एक प्रकारले बहिष्कारै गरे । मूलभूत अन्तरविरोध यहींबाट प्रारम्भ भयो । किनभने स्वतन्त्रताप्रति वैरभाव राखेर समानताको लक्ष्य प्राप्ति सम्भव थिएन र भएन । तिनै लेनिन र माओको कोरा नक्कलका रूपमा भारतमा कम्युनिस्ट विचारलाई पछ्याउने समूहहरू देखिए । तिनको नक्कल र तिनैले हिन्दीमा अनुवाद गरेका किताब पढेर नेपालमा कम्युनिस्ट कथा वाचन प्रारम्भ गरियो । यो कथाका नेपाली वाचकहरूमा, मदककुमार भण्डारीलाई अपवाद मान्ने हो भने पदार्थवादी विचार प्रक्रियामै पनि मौलिक र उपल्लो चेत कहिल्यै देखिएन । किनभने यिनीहरूले माक्र्सले उसबेला तात्कालिक वर्गचरित्र अनुसार ठम्याएको वर्ग संघर्षका उपकरणहरू, वर्गचरित्र नै नितान्त भिन्न भएको नेपालमा हुबहु उतार्न खोजे । अर्कातिर तिनै मध्येको एउटा समूहले, लेनिनले नितान्त भिन्न सन्दर्भमा भनेको जातीय स्वायत्ततालाई नेपालजस्तो अन्तरजातीय अन्तरक्रियाद्वारा निर्मित घुलनशील समाजमा जातीय संघर्षका रूपमा प्रयोग गर्न खोज्यो । मैले माथि इंगित गरेका कम्युनिस्ट यिनै दुईथरी हुन् ।
वर्ग संघर्षवाला धार बोकेको पक्ष, २०४६ साल अर्थात् सन् १९९० मा आएर लोकतान्त्रिक आन्दोलनमा समावेश भयो र क्रमिक रूपमा लोकतन्त्रको मूलप्रवाहमा मिसियो । त्यही समूह वर्तमान एमाले हो । यसले आफ्नो आन्तरिक पार्टी जीवनमा लोकतान्त्रिक अभ्यासलाई आत्मसात गर्दै गयो र यस्तो प्रतीत भइरहेको थियो कि यो नै नेपाली कांग्रेसकै हाराहारी नेपालको लोकतान्त्रिक मूलधार हो । तर पछिल्लो प्रकरणले उसको वर्ग संघर्षीय युटोपिया अझै जीवितै रहेको दृष्टिगोचर हुनपुगेको छ । धेरै नेपालीका मनबाट एमालेको पुरा नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) हो भन्ने झन्डै विस्मृत भइसकेको थियो । धेरैले बिर्सिसकेका थिए, यो पनि एउटा कम्युनिस्ट पार्टी हो । माथि भनिएझैं, यसलाई नेपाली कांग्रेसको सशक्त विकल्पका रूपमा हेरिँदै थियो । लोकतन्त्रको मियो, एउटा लोकतान्त्रिक पार्टीका रूपमा स्वीकार्ने क्रम तीव्र थियो । तर पछिल्ला घटनाक्रमले, विशेष गरेर माओवादी केन्द्रसँग तालमेल र एकताको उद्घोष गरिरहँदा दुबैका भावभंगिमाका कारण, जसको नामैमा कम्युनिस्ट छ, त्यसमाथि यो माक्र्सवादी र लेनिनवादी एकैसाथ दुबै हो, यसलाई कम्युनिस्ट रहेन, लोकतान्त्रिक भइसक्यो भन्न हतारिनु हुँदैन भन्ने सन्देश दिएको छ ।
दृष्टिकोण
बालबालिकाको मनो–स्वास्थ्य
- डा.धनरत्न शाक्य
नेपालमा १८ वर्ष र त्यसभन्दा कम उमेरका बालबालिका र किशोर–किशोरीले जनसंख्याको ठूलो हिस्सा अर्थात् करिब ४२ प्रतिशत ओगट्छन् । उनीहरूमा पनि रोगकै स्वरूपको मानसिक समस्या अरूमा भन्दा कम हँुदैन । करिब २० प्रतिशतमा कुनै न कुनै खालका मानसिक समस्या हुने गर्छ । कतिपय यस्ता समस्यामा उनीहरूको व्यवहारमा गडबडी, जस्तै– चकचक गर्ने, झगडा गर्ने, तोडफोड गर्ने, भनेको नमान्ने वा नमिल्ने र असामाजिक गतिविधि गर्ने हुँदा तिनका अभिभावक, परिवार, साथीभाइ, शिक्षक लगायतलाई मर्का परेको हुनसक्छ । उनीहरूमा आफैंलाई छट्पटी, पीडा, दु:ख अनुभव हुने अवस्था हुनसक्छ । अरू कतिपय अवस्थामा भने तिनको मानसिक, मनोवैज्ञानिक, सामाजिक, बौद्धिक विकासमा समस्या हुनसक्छ ।
भयावह बन्दै बाल मनोरोग एकातिर कतिपय यस्ता मनोगत समस्या यो उमेर समूहका बालबालिका र किशोर–किशोरीमा हुन्छन् भने कतिपयचाहिँ ५० देखि ७५ प्रतिशत वयस्कहरूलाई हुने रोग पनि यही उमेरमा सुरु हुने गर्छ । जीवनको सुरुवाती चरणमा शिक्षा, तालिम, सामाजिक व्यवहार, सदाचार, विवेक सिक्ने र विकास हुने बाल्यावस्था र किशोरी अवस्थामा हुन्छन्, यस अवस्थामा यस्ता रोगबाट ग्रस्त भएमा त्यसको असर शारीरिक रोग वा अस्वस्थताको भन्दा अझ गम्भीर र दूरगामी हुने गर्छ । यस्ता समस्याबाट ग्रसित बालबालिका र किशोर–किशोरी शारीरिक रोगबाट पनि बढी पीडित हुने गरेको पाइन्छ । शारीरिक रोगबाट ग्रसित बालबालिका र किशोर–किशोरी पनि मानसिक समस्याबाट पीडित हुने डर ज्यादा हुने गर्छ । बदलिँदो समाज, परिवार संरचना, समयको मूल्य–मान्यता, प्रचलन, अस्वस्थ प्रतिस्पर्धा, ठूला मानिसको उनीहरू माथिको पढाइ वा अरू कुराको अनुपयुक्त दबाब, देखासिकी, खुला, अनियन्त्रित सञ्चार पहुँच, हिंसा र तनाव आदि खतराजन्य तत्त्वहरू आजभोलि एकातिर बढ्दै गएको देखिन्छ भने अर्कोतिर अभिभावक र परिवारजनको साथ–सहयोग, समय, सामाजिक चालचलन आदिजस्ता बचाउका तत्त्वहरूमा गिरावट आएको महसुस गरिन्छ ।
बाल मनोरोगका जटिलता हामीमध्ये धेरै अभिभावक, परिवार, साथीभाइ, शिक्षक, छरछिमेकलाई तिनलाई पनि यस्तो रोग लाग्न सक्छ, के कस्ता लक्षण वा अवस्थामा मनोरोग भएको बुझेर उपचारतिर लाग्नुपर्छ । समयमै समस्या वा रोग नचिन्दा धेरै अस्वस्थ अवस्थामै रहन्छन् । त्यसले गर्दा उनीहरूको पढाइ लगायत सामान्य दैनिकी, खेलकुद, सामाजिक अन्तरक्रिया आदिमा गिरावट आई विकलांगताको स्थितिसम्म आइपर्छ । यस्ता समस्याग्रस्त बालबालिका र किशोर–किशोरीमा शारीरिक अस्वस्थता पनि अधिक हुन्छ । तिनमा मृत्युको प्रमुख कारण आत्महत्या बढ्न सक्छ । यस्तो विषम परिस्थिति बदल्न बालबालिका, किशोर–किशोरी, तिनका अभिभावक, परिवार, साथीभाइ, शिक्षक, चिकित्सक, मनो–स्वास्थ्यकर्मी सबैले आआफ्नो तर्फबाट भूमिका निर्वाह गर्न जरुरी छ । हाम्रा निर्दिष्ट जिम्मेवारी र भूमिका छन् र सबैबाट तिनको निर्वाह भएमा र उपयुक्त तरिकाले व्यवस्थापन भएमा यी समस्याको पहिचान समयमै हुन सम्भव छ । उपचार र व्यवस्थापन गर्दा अधिकांश जटिलता कम हुन्छन् । बालबालिका, किशोर–किशोरी हाम्रा भविष्य हुन् । सुखद, प्रगतिगामी र स्वस्थ भविष्यको लागि बालमैत्री भावना, हृदय र पहुँचबारे सोचौं । बालबालिकाको मनो–स्वास्थ्य नभुलौं । बाल मनो–स्वास्थ्य प्रबद्र्धन गर्न अभिभावक, परिवार, साथीभाइ, शिक्षक, चिकित्सक, मनो–स्वास्थ्यकर्मी सबैले यसबारे सरोकार राखौं । यसबारे आवश्यक जानकारी राखौं । आवश्यक सीप र कला, जस्तै– रिस र तनाव व्यवस्थापन गर्न सिकौं । तिनका लागि माया, प्रेम, सद्भाव, अनुशासन, विवेक, समय, साथ र स्वस्थताको जीवनशैली र वातावरण दिने कोसिसमा जुटौं । कसैमा कुनै खालका व्यवहार, भावना वा विकास सम्बन्धी कुनै समस्या, लक्षण देखिएको अवस्थामा पनि इज्जतमा दाग लाग्ने, अरूबाट हेय हुने, हेपिने वा अरू धेरै खालका कारणले उपचार व्यवस्थापनतिर लाग्नबाट चुक्ने डर रहन्छ । यथार्थ तथ्य मनन गरेर उपयुक्त उपाय, उपचार र व्यवस्थापनमा लागौं । उदासीनताको डिप्रेसन, छटपटीको एन्जाइटी, पागलपनको साइकोसिस, सुस्त मनस्थिति, अटिजम, अधिक चकचकेपन जस्ता निर्दिष्ट मनोरोग मात्र होइन, हाम्रा बालबालिका र किशोर–किशोरी कतै अरूबाट हेपिएर, त्रसित भएर, यातना पाएर पीडित त भएका छैनन् ? सचेत रहौं ।
समयमै चालिएको उपयुक्त कदम र व्यवस्थापन प्रभावकारी र सुरक्षित हुने गर्छ । यी कार्यक्रम, सेवा, अभियान र कदममात्र अस्पताल वा स्वास्थ्य केन्द्रको चौघेरामा सीमित रहनुहुन्न । समाजका हरेक कुना, हरेक व्यक्ति, परिवार, विद्यालयका कोठा, जागरणका पाटीपौवा, चौतारा, चियापसल वा मन्दिर आदिको जमघट सबैतिर विभिन्न स्वरूपमा पुग्नुपर्छ । यो हाम्रालागि आवश्यक छ र सम्भव छ । भएका सेवाबारे जानकारी राखौं, तिनको अधिकतम र उपयुक्त ढंगले उपभोग गरौं । हाम्रा लागि आवश्यक तर नभएका सेवा, कार्यक्रमका लागि सम्बन्धित ठाउँमा आवाज पनि उठाऔं, पैरवी गरौं । हाम्रा बालबालिका र किशोर–किशोरीलाई सताएर हाम्रो भविष्य धमिल्याउने मानसिक रोगबारे सतर्क बनौं । मचमजबलबकजबपथब२थबजयय।अयm
पाठक मञ्च
देवकोटालाई सम्झिँँदा
१९६६ सालमा जन्मिएका बहुप्रतिभाशाली महाकवि लक्ष्मीप्रसाद देवकोटालाई लक्ष्मीपूजाका दिनमात्र सम्झने गरिन्छ । जन्मजयन्तीको अवसरमा देवकोटाको शालिकमा माल्यार्पन गरी स्थानीय कविहरूद्वारा कविता वाचन गरी महाकविको प्रशंसा गरिन्छ । त्यसपश्चात श्रोता तथा कविहरू एक वर्षका लागि मौन हुन्छन् । जब देवकोटा वीरगन्ज आएर कविता वाचन गरेका थिए । उनको कविताको प्रेरणाले वीरगन्ज, श्रीपुरमा देवकोटा अध्ययन मण्डल स्थापना भएको थियो । केही वर्षपश्चात देवकोटा अध्ययन मण्डलमा देवकोटाको शालिक राखिएको थियो । त्यो पनि मधेस आन्दोलनताका आन्दोलनकारीले ध्वस्त बनाए । दुई वर्षअघि एमालेका तत्कालीन सांसद विचारी यादवले भवनलाई पुनर्जीवन दिने प्रतिबद्धता गरेका थिए । तर आजसम्म देवकोटा अध्ययन मण्डलतर्फ फर्केर हेरेका पनि छैनन् । देवकोटा अध्ययन मण्डल नाम मात्रको छ । यसको झ्याल चोरेर लगेका छन्, ढोका फुटाएर लगेका छन् । जीर्ण भवनको छतका छडहरू काटेर लाने क्रम जारी छ । यस्तो भवनको जीर्णोद्धार हुने आसले प्रभात काव्य यात्राका संयोजक अरूणविक्रम शाहले प्रत्येक वर्ष कविता गोष्ठी आयोजना गर्छन्, तर अहिलेसम्म भवनको सामान्य मर्मतसमेत भएको छैन । देवकोटा अध्ययन मण्डललाई मर्मत–सम्भार गरी देवकोटाको चिनोका रूपमा स्थापित गर्न जसरी प्रभात काव्य यात्रा लागेका छन्, त्यसैगरी स्थानीय व्यक्तिहरू सक्रिय हुन जरुरी छ । वीरगन्ज महानगरपालिका तातिनु जरुरी छ । भवन मर्मत भरी पुस्तकालय स्थापना गरेर समाजका बालबालिकालाई अध्ययनतर्फ रुचि बढाउन सकिन्छ । यसका लागि स्थानीय प्रशासन, बुद्धिजीवीको साथ अवश्य चाहिन्छ । – प्रमोद पौडेल श्रीपुर–११, वीरगन्ज
सभ्य र भव्य बनोस् तिहार हिन्दु धर्मावलम्बीहरूको मुख्य चाडपर्वको रूपमा मनाइने विभिन्न चाडपर्वमध्ये तिहार एक प्रमुख मानिन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि ५ दिनसम्म मनाइने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । यस ५ दिनमा यमराज आफ्नी बहिनी यमुनासामु गएर बसेको र यमुनाले आफ्नो दाजु यमराजको सेवा तथा पूजा गरेको समयलाई यमपञ्चक भनिन्छ । तिहारमा काग, कुकुर, लक्ष्मी, गाई र अन्तिम दिन भाइको पूजा गर्ने, फूलमाला लगाइदिने, मायाको चिनो आदान–प्रदान गर्ने भएकाले यस दिनलाई भाइटीका भनिन्छ । यसरी दिदीबहिनीले दाजुभाइको भलो होस् भनी गरिने पूजा तथा आराधना गर्ने संस्कृति एकदमै राम्रो परम्परा हो । देउसी–भैलो खेलेर पर्याप्त मनोरञ्जन लिनु यस पर्वको अर्को विशेषता हो । पछिल्लो समय देउसी–भैलोको नाममा धेरै पैसा उठाउने प्रवृत्ति बढ्दै जानु, पटका पड्काउने प्रवृत्तिको विकास हुनु, जुवातास खेल्ने एवं होहल्ला तथा झगडा एवं मद्यपान जस्ता कुसंस्कृतिको विकास हुँदै गइरहेको छ । तसर्थ यसरी पछिल्लो समय चाडपर्वका नाममा हुने गरेका वा हुनसक्ने सम्भाव्य नकारात्मक असर आउनुभन्दा समयमै सजग हुनु र अरूलाई पनि सजग बनाउनु हामी सबैको कर्तव्य हो । यसले हाम्रो परम्पराको जगेर्ना गर्न सघाउ पुर्याउँछ । अन्त्यमा, तपाईँ–हामी सबैको सहकार्यले तिहार सभ्य र भव्य बनाउन सहयोग गरोस् । – सुदीप न्यौपाने खाँदबारी नगरपालिका–९, संखुवासभा
दीपावलीको महिमा सूर्यका छोरा यमराज आफ्नी दिदी यमुनाको घर गई ५ दिन बस्दा दिदी यमुनाले मिठो–मिठो मिष्ठान्न भोजन गराई टीका लगाएर आशिर्वाद दिएको सम्झनामा तिहार पर्व मनाउँदै आएको किम्वदन्ती छ । भगवान रामले १४ वर्ष वनबास जीवन बिताएर फर्कंदा दीपावलीसहित दरबार प्रवेश गरेको सम्झनामा दीपावली पर्व मनाई आएको भन्ने अर्को कथन पनि चर्चामा छ । जे होस्, दीपावली भनेको अँध्यारोबाट उज्यालो प्रवेशको रूप हो भन्नेमा दुईमत छैन । नेपाल पनि अहिले संविधान विहीनताको अवस्थाबाट पार हँुदै नयाँ संविधानको उज्यालो युगमा प्रवेश गरेको छ । दलहरूको एकता र मेलमिलाप भए आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न हुनेछ र देशभर विकासको उज्यालो छाउनेछ । जब देशले शान्तिको साथमा विकासको गति लिन्छ, तबमात्र ढुक्कसँग दीपावली लगायतका चाडपर्व मनाउन सकिन्छ । तसर्थ दिदी यमुना र भाइ यमराजको जस्तै मेलमिलाप र एकता हाम्रा राजनीतिक दलहरूले पनि देखाउनसके दीपावलीको महिमा र गरिमालाई अझ उचाइमा पुर्याउन – पुरुषोत्तम घोरासैनी बालाजु– १६, काठमाडौं
केसीले तोडे अनशन
प्राडा गोविन्द केसीले तेह्रांै पटकको आमरण अनशन तेह्रौं रात सरकारसँग दसबुँदे सहमति भएपछि हात भाँच्चिएर उपचाररत रोजिना तामाङको हातबाट महपानी तोडे । मेडिकल शिक्षा क्षेत्रमा देखिएका समस्या निराकरणका खातिर जति चिन्ता, चासो र दृढता व्यक्त गर्दै उनी अनशन बसे, त्यो सर्वथा प्रशंसनीय, स्वागतयोग्य तथा अनुकरणीय छ । जसको जति नै शब्दले बयान गरे पनि कम हुन्छ । उनी जतिपटक आमरण अनशन बसे, उनले ती अनशनका साहसी हातका कुहिनाले पटक–पटकका सरकारलाई दर्जनौंपटक धकेल्दै सरकारी नीति निर्मातालाई लाजमर्दो बनाए । प्रत्येक सहमतिपश्चात् उनमा एउटा चरम विश्वास जाग्रित हुन्थ्यो । सुशील कोइरालादेखि वर्तमान प्रम देउवासमेत ६ वटा सरकारले उनका माग पुरा गर्ने सम्झौता गरे । तर कार्यान्वयन भएनन् । जिन्दगी बन्धकी लगाएर सत्याग्रहमा होमिएका डा. केसीले नैतिक रूपमा नयाँ उचाइ चुमिरहेका छन् । अब उनले सत्याग्रह बस्ने अवस्था आउनु छैन । सरकारले उनको माग पुरा गर्नुपर्छ । आन्दोलनले थिलथिलो बनेको पञ्चतत्त्व मिश्रित उनको मानवीय भौतिक देह कथंकदाचित प्राविधिक शिक्षाको वशभन्दा बाहिर गइदियो भने सरकारी निकायलाई त हाइसञ्चो होला, तर तीन करोड नेपाली भने सधैंका लागि हार्नेछन् । – श्यामसुन्दर कुइँकेल हाँडीगाउँ, काठमाडांै
बाघ दरबार होइन, बाग दरबार हो हिजोको बाग दरबारसम्बन्धी लेखमा विभिन्न दरबारको नाम दिइएको रहेछ । तीमध्ये निम्न तथ्य रहेका छन् : १. बाग दरबार बडा महाराज पृथ्वीनारायणको भतिजाहरूको हो । अनि यहाँ अति सुन्दर बगैंचा/बाग भएकाले बागको दरबार भनियो । पछि ‘बाग दरबार’ भयो । बाघ पालेर बाघ दरबार भएको होइन । अर्को कुरो भीमसेन थापा बनारसबाट फर्केपछि उनले राजा रणबहादुरको शक्ति प्रयोग गरी बाग दरबार जबर्जस्ती राजपरिवारबाट खोसे । त्यहाँ बस्ने २ जना चौतारा शाहहरूको आँखामा सिउँडीको दूध हालेर अन्धो बनाई यो दरबार लिएका थिए । पछि भीमसेन थापाको आमाले छोराहरूलाई गरिदिएको अंशबन्डामा समेत यो दरबारलाई बागको दरबार लेखिएको छ । जुन कागज अहिले पनि सुरक्षित छ । हुन सक्छ, पछि बाघ पनि पालियो होला । अनि बेलाबखतमा मर्मत पनि भयो होला । यसको नाम बिगारेको पुरुषोत्तमशमशेर राणाले लेखेको पुस्तकले गर्दा हो । त्यो पुस्तकमा बाघ पालेकाले बाघ दरबार भएको लेखिएको छ । २. अर्को कुरा नारायणहिटी दरबार प्रधान सेनापति काजी शिवराम सिंह बस्न्यातका कान्छा छोरा मन्त्री तथा सेनापति धौकल सिंह बस्न्यातले बनाएका हुन् । उनी गडवालको युद्धमा स्वर्गे भएपछि त्यो दरबार भीमसेन थापाले खोसेका थिए । भीमसेन थापाको मृत्युपछि त्यो हक लाग्ने भएकाले चौतारिया शाहहरूले खोसे । कोतपर्वमा चौतारिया फत्तेजङ शाहहरू मारिएपछि जङ्गबहादुर राणाले लिए । अनि उनले भाइ धीरशमशेरलाई धौकलको सानो दरबार/हालको लाल दरबार दिए भने अर्का भाइ रणोदिप सिंहलाई नारायणहिटी मूल दरबार दिए । रणोदिप सिंह श्री ३ महाराज भएपछि मात्र नेपालका श्री ५ राजाहरूलाई हनुमानढोका दरबारबाट नारायणहिटी दरबारमा सारियो । त्यहाँ रहेको नारायण मन्दिर धौकल सिंहले बनाएका थिए । पछि विसं १९४२ मा धीरशमशेरका छोराहरूले आफ्न काका श्री ३ रणोदिपको हत्या गरेर वीरशमशेर श्री ३ भएपछि धौकलले बनाएको दरबार भत्काइयो । वास्तवमा काका मारेपछि मात्र शमशेर खलकले नामको पछाडि स्वघोषित ‘जङ्गबहादुर राणा’ लेखेका हुन् । यो श्री ५ ले दिएको होइन । अर्को कुरो श्रीपाली बस्न्यात खलकका धौकल सिंहको परिवारलाई अन्याय भएको छ । उनीहरूले त्यो दरबारको सट्टाभर्ना केही पाएका छैनन् भने पुरातत्त्व विभागले पनि पुरानो भवनहरूको सही इतिहास नराख्नु दु:खको विषय बनेको छ । – प्रेमसिंह बस्न्यात बाँसबारी, काठमाडौं
पोर्चुगलमा किन चाहियो दूतावास ? पोर्चुगलका केही नेपालीले पोर्चुगलमा पनि नेपाली दूतावास खोल्नुपर्छ भनी दिएको वक्तव्य सुन्दा अचम्म लाग्यो । पहिलो, नेपाल बाहिर बस्ने नेपालीहरू आफ्नो रहरले देश छाडेका हुन् । धेरैले उतैको नागरिकता लिसकेका छन् । उनीहरूको सुविधा त्यही देशले गर्ने हो, नेपाली करदाताको पैसाबाट होइन । दोस्रो, नयाँ खोलिएका नेपाली नियोगहरूको औचित्य सरकारले पुष्टि गर्न सकिरहेको छैन । क्यानाडा, दक्षिण अफ्रिका, ब्राजिल, अस्ट्रियामा दूतावास किन खोलियो ? अहिलेसम्म के काम भयो ? नेपालीलाई केही अत्तोपत्तो छैन । त्यसमाथि लसएन्जेल्स, गुआङजहोउ जस्ता सहरमा पनि महावाणिज्य दूतावास खोलिएको छ । श्रीलन्का, इजिप्ट, म्यान्मार जस्ता ठाउँमा पनि नेपाली दूतावासको केही काम छैन । करोडभन्दा कम यी कुनै दूतावासको खर्च छैन । कर्मचारी मात्र होइन, तिनका छोराछोरीको पढाइ पनि नेपाल सरकारले ब्यहोर्नुपर्छ । दूतावास खोल्नु त्यस देशसँग व्यापार, पर्यटन, लगानी अभिवृद्धि हुनसक्ने सम्भावनाबाट निर्देशित हुनुपर्नेमा जथाभावी ढंगले नयाँ–नयाँ दूतावास खोल्नु खालि पैसाको बर्बादी मात्र हो । भुटानको केही देशमा मात्र नियोग छन्, तर उसको कूटनीति हाम्रोभन्दा प्रभावकारी छ । – राजकुमार सिंह बानेश्वर, काठमाडौं
सीमा नियमनले सिर्जना गर्ने झन्झट कात्तिक १ गते प्रकाशित बुद्धिनारायण श्रेष्ठको ‘ईपीजी बैठक र सीमा व्यवस्थापन’ पढेँ । मैले त सुनेको थिएँ कि स्वतन्त्र आवागमनको नियमनलाई भारतीय पक्षले अस्वीकार गरेको थियो । तर यहाँ त भारतको प्रतिनिधिले नै प्रस्ताव गरेको भनियो । यो के हो ? नेपालले चाहेको कुरा सजिलै पूर्ति भएको छ । जेजस्ता कारणले भारतले यसमा चासो देखाए पनि आम जनताको लागि यो कष्टकर नै हुनेछ । खास गरेर सीमा छेउको जनता जो दिनहँु कतिपटक भारत जान्छन्, तिनीहरू पीडित हुनेछन् । भारत–नेपालको आवत–जावत चीन–नेपालको आवत–जावत जस्तो छैन । लेखकले रोटीबेटीको सम्बन्ध भारतको जस्तो चीनको साथ पनि उस्तै रहँदै आएको बताएका छन् । तर हिमालको विकटताले यो उस्तै हुनसक्दैन । लेखकले हवाइजहाज र होटलमा परिचयपत्र देखाउनुपर्छ भनी त्यस्तै सीमामा पनि हुनसक्छ भनेका छन् । तर यति लामो सीमालाई हवाई यात्रासंँग तुलना गर्न मिल्दैन । भारत र नेपालमा पुरा जन्ती लिएर आवत–जावत हुन्छ । नियमनले यसमा अवश्य कठिनाइ थप्नेछ । तर पनि जब समय यसको आइपुगेको छ भने जनताले झख मारेर यस नियमनलाई स्वीकार्नैपर्छ । – डा. शिवशंकर यादव छपकैया, वीरगन्ज
विविधा
फूलैफूलको चाड तिहार
- डा. वासुदेवकृष्ण शास्त्री
डा. वासुदेवकृष्ण शास्त्री
कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्लद्वितीयासम्मका ५ दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी ५ दिनलाई यमपञ्चक भनिएको हो ।यमपञ्चकको पहिलो दिन (कागतिहार) बिहान घरलाई लिपपोत गरी शुद्ध बनाई आँगनमा वैदिक विधिविधान अनुसार यमदूतका रूपमा कागलाई पूजा गरिन्छ, कागलाई मिठो लाग्ने विविध खानेकुरा दिइन्छ । कागलाई यमराजको दूतका रूपमा लिइने र सत्यवादी, भविष्यद्रष्टा, सन्देशवाहक पन्छीका रूपमा लिने परम्परा छ । पन्छीहरूमा सबैभन्दा चतुर र सकुनशास्त्रका वक्ताका रूपमा मानिएको छ । कागलाई हिन्दु धर्मावलम्बीले वसुधैव कुटुम्बकमको भावबाट ओतप्रोत भएर सम्मान प्रकट गर्दै पूजा गर्छन् । भगवान विष्णुको वाहन गरुड, लक्ष्मीका वाहन लाटोकोसेरो, सरस्वतीको वाहन हंश, कार्तिकेयका वाहन मयूर र यमको दूतको रूपमा कागलाई लिनाले पन्क्षीप्रतिको अनुराग पनि महत्त्वपूर्ण छ ।पौराणिक रूपमा मात्र नभएर कागले सामाजिक रूपमा पनि घरगाउँमा रहेका कतिपय फोहोर–मैला खाएर वातावरण सफा गर्ने गर्छन् । पितृकार्यमा पनि मान्छेको देहावसान भएपछि अनिवार्य रूपमा कागबलि (खाना) दिने विधान छ । पौराणिक रूपमा काग भुसुन्डी नामक ऋषि प्रसिद्ध भएको र रामायणको कथा सुनाएको प्रसंग पनि अवगत हुन आउँछ ।समुद्र मन्थन गर्दा चौध रत्नहरू समुद्रबाट निस्किए । त्यसमा आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको प्रादुर्भाव भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझ मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता रहेको पाइन्छ । कात्तिक महिनाभरि पाँचैदिन घर बाहिर–भित्र ज्योति बाल्नाले अल्पमृत्यु, दु:ख, अशुभभाव नाश हुन्छ । सुख, शान्ति, समृद्धि प्राप्त हुन्छ ।
यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी अर्थात् कुकुर तिहार भनिन्छ । यस दिन बिहानै शरीरमा तेल लगाएर अपमार्गको लेप बनाई स्नान गर्नुपर्छ । विविध औषधीको प्रयोग गरी स्नान गर्नुपर्छ । पितृहरूलाई सम्झेर नदी, तलाउ आदिमा दीप प्रवाह गर्ने विधान पनि छ । आफ्नो कुलोचित तर्पणादि समाप्त गरी कुकुर पूजा गर्नुपर्छ । पशुहरूमा तुच्छ रूपमा रहेको कुकुरलाई पनि यमराजको दूत र भैरवको वाहनका रूपमा लिने गरिन्छ । स्याव र शवलनाम गरेका कुकुरको जन्म वैवश्वत कुलमा भएको पौराणिक प्रमाण छ । यो आधारमा पनि मानव र कुकुरको सम्बन्ध निकट देखिन्छ । सनातन हिन्दु धर्मावलम्बीले यस वफादार प्राणीको सम्मान गर्दै यमपञ्चक अन्तर्गत पूजा गर्ने र श्रद्धाभाव प्रकट गर्ने गर्छन् । कुकुर तिहारका दिन शरीरमा तोरीको तेल मर्दन गरी स्नान गर्नाले छालाको रोग र चिसोबाट बच्न सकिन्छ ।कुकुरको सामाजिक महत्त्व पनि छ । प्राणीहरूमा अत्यन्त तीव्र घ्राणशक्ति भएको चौपाया कुकुर हो । कुकुरको सहयोगले ठूलठूला अपराधीहरूलाई पत्ता लगाउने गरिन्छ । यो प्राणी आफ्नो स्वामीप्रति सधैं उत्तरदायी रहन्छ । धेरै खाने मांसभक्षी जनावर भए पनि थोरैमा पनि सन्तुष्ट हुने स्वभाव पाइन्छ । कुकुर तिहारले आफ्ना स्वामी (ईश्वर) प्रति सधैं वफादार रहने, सधैं चतुर, आलस्यरहित हुनुपर्ने सामाजिक दायित्वबोध गराउने सन्देश प्रदान गर्छ । यमपञ्चकको तेस्रो दिन कात्तिक कृष्ण अमावश्या (गाईतिहारे औंसी) लक्ष्मीपूजा मनाइन्छ । धनकी लक्ष्मी, गणेश, कुवेर आदिको पूजा गरिन्छ । मूल प्रकृतिमा लक्ष्मीका दुई स्वरूप हुन्छन्– दुर्भाग्यलक्ष्मी र सौभाग्यलक्ष्मी । अधर्मीमा घरमा दुर्भाग्यलक्ष्मीले बास गरेर कष्ट प्रदान गर्छिन् भने साधक सन्त पुण्यात्माको घरमा धन–धान्य, सु:ख, शान्ति प्रदान गर्छिन् । औंसीको दिन (लक्ष्मीपूजा) बिहान घरलाई लिपपोत गरी सफासुग्घर भएर नित्यकर्म गरी दुर्भाग्यलक्ष्मीको प्रार्थना गरिन्छ । दुर्भाग्यलक्ष्मीको पूजापछि गौलक्ष्मीको समन्त्रक पूजा गर्नुपर्छ । कर्म गरे पनि दुर्भाग्यले नछोड्ने भएकाले पहिले दुर्भाग्यलाई हटाई सौभाग्य वृद्धिका लागि सौभाग्यलक्ष्मीको पूजा गर्नुपर्छ ।त्यसपछि धनधान्यकी देवी लक्ष्मी र ऋद्धिसिद्धिले युक्त भएका भगवान गणेश, कुवेर, कार्तिकेय र श्रीविद्याका उपासकले श्रीचक्रको पूजा गर्नुपर्छ । गाईलाई लक्ष्मीको रूपमा मानी ३३ कोटी देवताहरू गाईको शरीरमा रहने भएको हुनाले गाईको पूजाले सम्पूर्ण ३३ कोटी देवताको पूजा भएको मानिन्छ । पूजा गरिसकेपछि मिठो घाँस, कुँडो, रोटी, पसाएको हरियो धान आदि ख्वाउने गरिन्छ । बाँचुन्जेल जीवनदायिनी शक्तिको रूपमा गोरस पान गरेर मृत्युपर्यन्त वैतरणी पार गराउने सहाराका रूपमा गाईलाई हिन्दु धर्मले सम्मानपूर्वक विशिष्ट स्थान दिएको छ ।
यसै दिन सन्ध्याकालमा कुवेर, इन्द्र, धनसम्पत्ति आदिको पूजा गरी दीपमालिका (दीपावली) गर्ने गरिन्छ । स्थिर लक्ष्मी, यश, कीर्ति, ऐश्वर्य, उन्नति प्राप्तिका लागि सन्ध्याकालमा कोठा, चोटा, प्रांगण, जलाशय, गौशाला आदिमा बत्ती बाल्ने गरिन्छ । गाईलाई हिन्दु धर्मावलम्बीले माताका रूपमा सम्मान प्रकट गर्छन् । गाईले दूधपान गराएर मानिसको शरीरलाई हृष्ठपुष्ट गराउँछिन् । गोमूत्रपान गरी आन्तरिक वात, कफ, पित्त आदि रोग निवारण हुनुका साथै आत्मिक शुद्धि पनि गराउँछिन् । गौदुग्धलाई अमृत मानिन्छ, त्यस्तै घ्युलाई आयुर्वै ‘घृतम’् भनिन्छ । त्यसैले गाईलाई माताका रूपमा, लक्ष्मीका रूपमा र हाम्रो देशमा राष्ट्रिय जनावरका रूपमा पनि सम्मान गरिएको छ । यसै दिन साँझ महाकालीको पूजा गरिन्छ । नयाँ बहीखाताहरूमा, सरस्वतीको तथा धनियाँ, सुठो, कौडा, कमलगफा भोजपत्र आदिमा लक्ष्मीको स्थापना गरी पूजा गरिन्छ ।यमपञ्चकको चौथो दिन अर्थात् कात्तिक शुक्लप्रतिपदाको दिनलाई गोबर्धन पूजा अर्थात् गोरुतिहार भनिन्छ । यस दिन गोरुको पूजा गर्नुभन्दा पहिले बिहान नित्यकर्म गरी घरमा गाईको गोबरले गोबर्धन पर्वतको निर्माण गरी शास्त्रीय विधिअनुसार पूजा गर्नुपर्छ । गोबर्धन पूजाबारे कृष्णचरित्र भागवतमा विस्तृत चर्चा गरिएको पाइन्छ । अभिमानी इन्द्रको घमन्डलाई चुर गर्न भगवान श्रीकृष्णले गोबर्धन पूजाको परम्परा बसाएको चर्चा पौराणिक ग्रन्थहरूमा पाइन्छ ।
सनातन आर्य जातिहरूले गाईलाई विशेष महत्त्व दिएर माताका रूपमा सम्मान गर्ने हुनाले तिनीहरूको चरण, घाँसपात प्रदान गर्ने क्षेत्र वा प्रकृतिलाई नै गोबर्धनका रूपमा पूजा गरिएको, संरक्षण गरिएको अवगत हुन आउँछ । यसै दिन सत्यवादी बलिको पूजा पनि गर्ने विधान छ । अमावश्याको दिन साँझदेखि भोलिपल्ट बिहानसम्म चेलीबेटीहरू आपसमा भेला भई घर–घरमा भैलो खेल्छन् । गोबर्धन पूजाको दिन र यमद्वितीयाको दिन दाजुभाइहरू मिलेर देउसी खेल्ने प्रचलन छ ।गाउँघरमा लिंगेपिङ हाली रमाइलो गर्ने, ऋतुराज अनुजका रूपमा शारदीय समयमा वसन्त ऋतुझैं पुष्पहरू फुल्ने, खेतबारीमा अन्नबाली लहलहराउने, बाटाघाटा सफा र स्वच्छ रहने हुनाले अति नै सुन्दर समयमा यो पूजा या गोबर्धन उत्सव गरिन्छ ।यमपञ्चकको पाँचौं दिनलाई भाइटीका अर्थात् भ्रातृद्वितीया भनिन्छ । यस दिन घरमा नित्यकर्म गरी शास्त्रीय विधिअनुसार यम, यमुना र अष्टचिरञ्जीवीको पूजा गरिन्छ । बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिएर निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजाअर्चना गरेको चर्चा पौराणिक वाङ्मयमा पाइन्छ ।
दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, आरोग्यता, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाइदिन्छन् । माइतीको जीवनमा आउने अप्ठ्यारो र अशुभताको नाश गर्न कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामा राखेर फुटाइन्छ । त्यसपछि तेलको धाराले परिक्रमा गराई सप्तरंगी टीका लगाइदिने र कहिले नओइलाउने मखमली, दुबो, सयपत्री आदिको माला लगाई मिष्ठान्न मसला आदि विभिन्न परिकार खुवाउने प्रचलन छ । यस दिन गणेश, लोमश, यमुना, परिचारिका, नवग्रह, ब्रह्मा, विष्णु रुद्रादिको पूजा पनि गरिन्छ ।दाजुभाइले दिदीबहिनीलाई आफ्फ्नो अवस्था अनुसार दक्षिणा, उपहार दिने प्रचलन छ । यमपञ्चकको पाँच दिनमा क्रमश: काग, कुकुर, गौ, लक्ष्मीगोबर्धन र भाइपूजा गरी पशुपन्क्षी लगायत सम्पूर्ण परिवारको दीर्घायु, आरोग्यता, ऐश्वर्य, यश, कीर्ति, विजय आदिको कामना गरिन्छ ।पिङ खेल्ने, दीपावली गर्ने, देउसी–भैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । हाम्रा पर्वहरू संसारभरि फैलिएका छन् । सुमात्रादेखि हिन्द–एसिया ब्रह्मदेश (बर्मा) देखि अजरवैजानको वाकुसम्म ज्योति र प्रकाश र फूलैफूलको पर्व, रंगीविरगी सप्तरंगी पर्वको रूपमा मनाएर संसारभरि शान्ति, समृद्धि, उन्नति, आपसी, मैत्री करुणाको भावलाई विश्वभरि फैलिएको छ ।
विविधा
खुला अर्थनीति र सरकारी हस्तक्षेप
- सोमबहादुर थापा
सोमबहादुर थापा
कुनै पनि नीति वा विषय विवादमुक्त हँुंदैन । यसका असल र खराब दुुवै पक्ष हुन्छन् । खराब पक्षलाई नियन्त्रण र नियमन गर्नुपर्ने हुन्छ । कुनै समयमा कुनै नीति उपयोगी र प्रभावकारी हुन्छ भने कुनै समयमा अर्कोे कुनै नीति उपयोगी र प्रभावकारी हुन्छ । कुनै बेला सरकारले सबै क्षेत्रमा लगानी गरी काम वा सेवा प्रवाह गर्ने नीति संसारभर चलेको थियो । यो नीतिका पनि आफ्नै प्रकारका असल र खराब गुण वा पक्ष थिए । १८ औं शताव्दीपछि यस नीतिमा पुनर्विचार सुरु भयो । सन् ८० को दशकमा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर सरकारले मात्रै सबै क्षेत्रमा लगानी गरेर, सेवा प्रवाह गरेर सम्भव हँुदैन भनी सरकारी कार्य वा सेवा र सरकारद्वारा सञ्चालित संस्थानहरू निजीकरण गर्ने साहसिक निर्णय गरेको थियो । यो निर्णय ज्यादै उपयुक्त देखिएपछि अरू देशले पनि विस्तारै यसलाई अनुशरण गर्न थाले । नेपालले पनि यो सिद्धान्तलाई २०४८ सालदेखि व्यवहारमा उतार्यो । सोभियत रूस अथवा आजको रसिया र चीनले धेरै समयसम्म सरकारले सबै क्षेत्रमा लगानी गरी सेवा प्रवाह गर्नुपर्छ भन्ने संरक्षणवादी र एकाधिकारवादी मान्यता र सिद्धान्त अनुसार शासन गर्दै आएका थिए । चीनमा लोकप्रिय नेता देङ सिआओ पिङको निर्देशनपछि अर्थात् १९८० को दशकपछि परम्परागत सिद्धान्त र मान्यतामा परिवर्तन गर्दै खुल्ला तथा बजारमुखी अर्थव्यवस्था परीक्षणको रूपमा अंँगालियो र संघाईलाई यसको पहिलो केन्द्र बनाइयो ।चीनको बजार व्यवस्था निकै अनुशासित र मर्यादित छ । व्यवसायीहरूले कानुन बमोजिम तिर्नुपर्ने कर समयमै तिर्छन् । कम्पनी पनि समयमै नवीकरण गर्छन् । खुला नीतिपछि चीनमा आन्तरिक र बाह्य लगानी ओइरिन थाल्यो । चीनले छोटो समयमा प्रभावकारी रूपमा सबै क्षेत्रमा चामत्कारिक विकास गर्न सम्भव यही नीतिका कारण भएको हो ।
रूसले पनि एकाधिकारवादी र केन्द्रीकृत साम्यवादी शासन व्यवस्था १९९० को दशकमा परिवर्तन गरी खुला र प्रतिस्पर्धात्मक शासन व्यवस्थामा प्रवेश गर्यो । रूसमा खुला र प्रतिस्पर्धात्मक शासन व्यवस्था र नीति लागू गराउन तत्कालीन राष्ट्रपति मिखाइल गोर्भाचोभ र बोरिस यलत्सिनको भूमिका रह्यो । भारतमा पनि महात्मा गान्धी कहिल्यै शासन सत्तामा बसेनन्, तर उनको आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने आत्मनिर्भर नीति राष्ट्रिय नीति बन्यो । सार्वजनिक नीति बनाउन शासनसत्तामा बस्नैपर्छ भन्ने छैन । भारतले ११९० को दशकपछि विस्तारै खुल्ला तथा बजारमुखी अर्थव्यवस्था अवलम्बन गर्दै आएको छ । संरक्षणवादी नीति तथा एकाधिकारवादी शासन व्यवस्थाका कमी–कमजोरी बढ्दै गएका कारण सबै साम्यवादी मुलुकले शासन व्यवस्था र नीतिमा आमूल परिवर्तन गर्नुपर्ने स्थिति सिर्जना हुनगयो । त्यही कारण आज ठिक र असल मानिएको शासन व्यवस्था र नीति भोलि असल र ठिक नै हुन्छन् भन्न सकिँदैन । समयसँगै परिवर्तन गर्दै जानुपर्ने हुनसक्छ ।
नेपालमा २०१७ सालपछि लागू भएको पञ्चायती शासन व्यवस्था नियन्त्रित र निर्देशित थियो । त्यतिबेला खुल्ला अर्थ तथा बजार नीति अपनाउन सक्ने कुरै भएन । तथापि पञ्चायतको उत्तराद्र्धमा नेपालले सीमित भए पनि खुला बजार व्यवस्था एवं खुला अर्थनीति सहित मिश्रित अर्थनीति अवलम्बन गर्दै आएको थियो । २०४६ सालमा बहुदल पुन:स्थापित भएपछि गठित कांग्रेस सरकारले २०४८ मा खुल्ला तथा बजारमुखी अर्थव्यवस्थालाई अवलम्बन गर्यो र २०४९ सालमा निजीकरण सम्बन्धी कानुन पनि बनायो ।यस नीति अवलम्बन गरेपछि कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, पर्यटन, सडक, ऊर्जा लगायतका पूर्वाधारका क्षेत्र, बैंक तथा वित्तीय संस्था एवं हवाइसेवा कम्पनीहरूमा समेत निजी क्षेत्र तथा बाह्य लगानी निकै आकर्षित हुनगयो । छोटै अवधिमा यो नीतिको कारण विविध क्षेत्रमा निजी क्षेत्र तथा बाह्य क्षेत्रको लगानी उल्लेखनीय रूपमा बढ्नगई विकासको गति पनि तीव्र हुनगयो । नेपालमा यो नीति ल्याउंँदा विश्वभरि नै निजीकरण तथा खुल्ला अर्थनीतिले व्यापकता लिइसकेको थियो ।
खुला अर्थनीति पनि आलोचनारहित छैन । कमी–कमजोरीसहित विसंगति छन् । निजी क्षेत्र बढीभन्दा बढी मुनाफा आर्जन गर्नमात्रै केन्द्रित हुन्छ, तर वस्तु वा सामान वा उत्पादन तथा सेवाको गुणस्तरीयता र टिकाउपना जस्ता संवेदनशील विषयमा निजी तथा व्यावसायिक क्षेत्रले ध्यान दिँदैन भन्ने गम्भीर आरोप निजी क्षेत्रमाथि सरकार र आम उपभोक्ताको तर्फबाट उठ्ने गरेको छ ।कारोबारको पूर्ण विवरण नदेखाउने, कर समयमै नतिरी अनेक बहानामा कर तिर्न विलम्ब गर्ने, न्यून विजकीकरण गर्ने तथा बजारमा विषादीयुक्त र गुणस्तरहीन सामान उत्पादन तथा अस्वाभाविक मूल्य लिई बिक्री–वितरण गरी आमजनता तथा उपभोक्तालाई दु:ख र सास्ती दिने तथा जसरी पनि बढी मुनाफा आर्जन गर्न खोज्ने प्रवृत्ति छ भन्ने निजी क्षेत्रमाथि आलोचना आइरहेको छ । सरकारले पनि नियमन र नियन्त्रणकारी नीतिमार्फत बजारलाई अनुशासित, मर्यादित र स्वच्छ बनाउनु आवश्यक छ । तर बजार व्यवस्था असहज र अस्वाभाविक बनाउने काम गरियो वा सर्वसाधारणलाई अस्वाभाविक रूपले ठग्ने वा सास्ती दिने काम गरियो भने सरकारले जहिले पनि बजारमाथि हस्तक्षेप गर्नुपर्छ । संयुक्त राज्य अमेरिका लगायत विश्वका सबै देशमा यो भूमिका सरकारले निर्वाह गर्ने गर्छ र बजार व्यवस्थालाई नियमित र व्यवस्थित तथा अनुशासित बनाउनु सरकारको सामाजिक र नैतिक दायित्य हो । नेपालको हकमा निजी क्षेत्र वा बजार व्यवस्थाले राम्रा र सराहनीय काम पनि गरेको छ ।
सरकारले अनेक आरोप र आलोचना खेप्दै सरकारी संस्थान उदार दृष्टिकोण राखी निजीकरण गर्यो । तर निजी क्षेत्रले निजीकृत उद्योगहरूलाई सञ्चालन नगरी सरकारलाई अप्ठ्यारोमा मात्रै पार्ने काम भए । रूसले शासन व्यवस्था परिवर्तन गर्दा सरकारी स्वामित्वमा रहेका संरचना निजी क्षेत्रलाई दिने निर्णय गरेपछि निजी क्षेत्र र सरकारले ती सबै काम बडो राम्रो ढंगले व्यवस्थित गर्न समर्थ भए । निजी क्षेत्रले पनि सरकार जनतालाई मात्रै दु:ख र सास्ती दिने काम गर्न भएन र यस्तो कामबाट उनीहरूले सामाजिक र नैतिक दायित्व पुरा गरेको पनि देखिँदैन । निजी क्षेत्र वा बजारले पनि सधैं अस्वस्थ नाफामात्रै खोजेर काम गर्नु उपयुक्त देखिँदैन । यो असल र आदर्श व्यवसायको चरित्र पनि होइन । जसरी निजी क्षेत्र वा बजार व्यवस्था संगठन, व्यवस्थापन, अनुसन्धान र कार्यकुशलतामा चुस्त–दुरुस्त देखिन्छ, त्यसरी नै कारोबारको पूर्ण विवरण राख्ने, समयमै कर तिर्ने, बिक्रीका लागि उपयुक्त सामानमात्रै बिक्री–वितरण गर्ने जस्ता काम पनि गर्नु आवश्यक देखिन्छ । यसमा उद्योगी, व्यवसायीहरूको संगठनहरू, जस्तो– उद्योग वाणिज्य संघ, परिसंघ लगायतका सबै संगठनको ध्यान जानु आवश्यक देखिन्छ । सरकारलाई आवश्यक सहयोग गर्नु निजी क्षेत्रको दायित्व हो । सरकार र निजी क्षेत्र सँगै नहिँंडी कुनै काम गर्न सकिँंदैन भन्ने सार्वजनिक क्षेत्र र निजी क्षेत्र दुवैले बुझ्नुपर्छ ।
विविधा
गठबन्धन संस्कारको अभाव
- अस्मिता वर्मा
अस्मिता वर्मा
पछिल्लो समय राजनीतिक दलहरू आ–आफ्ना सत्ता स्वार्थले चलायमान देखिन्छन् । दुई ठूला भनिएका कम्युनिष्ट पार्टीले अब हुने प्रदेश र संसदीय चुनावमा तालमेल गर्दै पार्टी एकतासम्म पुग्ने बाटो तय गरेका छन् । अहिलेको धु्रवीकरणको कारण के हो भन्ने उत्तर गर्भमै छ । तर एक नजरमा भन्न सकिन्छ, स्थानीय चुनावमा एमालेले चाहेझंै कांग्रेस र माओवादीभन्दा माथि मत ल्याउन नसक्नु । आसन्न निर्वाचनपछि कांग्रेस–माओवादी गठबन्धन कायम रहेको अवस्थामा एमाले दीर्घकालसम्म सत्ताबाट विमुख हुने अवस्था प्रस्ट देखेपछि एमाले माओवादीलाई सम्मानजनक स्थान दिएर तालमेल र एकतामा गएको कुरा एक बुझाइ छ । पटक–पटक भएका राजनीतिक आन्दोलनका माध्यमबाट यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा छ । पछिल्लो चरणमा स्थानीय तहको निर्वाचनले संविधानको कार्यान्वयनको बाटो खोलेको छ । यो एउटा उपलब्धि संविधान कार्यान्वयनको ऐतिहासिक कदम हो ।तर अत्यन्त नाटकीय र अपारदर्शी ढंगले दुई कम्युनिष्ट दलबीच चुनावी तालमेल र पार्टी एकताको प्रसंगले ठूलै हलचल ल्याएको छ । त्यसले राजनीतिलाई आकस्मिक र अवसरवादी बनाएको छ ।राजनीतिक इतिहासमा सुरुदेखि सबै प्रकारका परिवर्तनको नेतृत्व लिएको नेपाली कांग्रेस झस्किनु स्वाभाविकै हो । पछिल्लो समय बनेको प्रि–इलेक्सन कम्युनिष्ट गठबन्धनले कतिको प्रभाव पार्नेछ भन्ने आम चासोको विषय बनेको छ । पोस्ट–इलेक्सन राजनीतिक गठबन्धनहरू बनेका धेरै उदाहरण छन्, जसले पावर सेरिङ बाहेक अन्य विषयमा खासै प्रभाव पारेको देखिँदैन । माक्र्सवादको औचित्य समाप्त भएको घोषणा गर्दै लोकतन्त्रलाई अनिवार्य विन्दु मान्न प्रतिबद्ध नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको साम्यवादी कित्तामा हुनपुगेको ‘युटर्न’ले राजनीतिलाई फोहोरी खेलको तहमा ओराल्ने काम गरेको छ । माक्र्सवादको औचित्य समाप्त भएको ठहर गर्दागर्दै राजनीतिमा आफ्नो औचित्य समाप्त हुनलागेको सत्यबोध गरेका भट्टराईले परित्याग मान्यतासँग नै सम्झौता गर्नु उपयुक्त ठहराएको देखियो । तर केही साता नबित्दै उनी फेरि वाम गठन्धनबाट बाहिरिइसकेका छन् ।
स्थानीय निर्वाचनमा माओवादी केन्द्रसँग केही तहमा कांग्रेसले तालमेल गरेको थियो । तर त्यो चुनावी तालमेल मात्र थियो । कांग्रेस र माओवादीबीच भएको गठबन्धन वास्तवमा शासकीय इच्छाले उत्पन्न गरेको अवसरवाद नै हो । विगतमा एमाले र कांग्रेस बीचको तालमेल भने केही हदसम्म स्वाभाविक थियो, किनकि कांग्रेस प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास राख्ने पार्टी भएकाले । माक्र्सवादमा समय र देशअनुसार भन्ने नाममा रूसमा लेनिन, चीनमा माओ, उत्तर कोरियामा किम इल सुङ, भियतनाममा हो चि मिन्ह, कम्बोडियामा पोलपोट, क्युबामा फिडेल क्यास्त्रो, भारतमा माक्र्सवादीहरू र युरो कम्युनिस्टहरूले थपेका अनेक टालामा नेपालमा जनताको बहुदलीय जनवाद र प्रचण्डपथ थपिएको अवस्था छ । मूल दर्शनमा प्वाल पार्दै देशीय र अवसरका टाला टाल्दै जानुलाई प्रगतिशीलताको जुनसुकै आवरणले छोपे पनि सर्वत्र उदाङ्गो भइरहेको अवस्था छ । कूटनीतिक सम्बन्ध सुदृढीकरणको सन्दर्भमा पनि कम्युनिष्टहरूले खोक्रो राष्ट्रवादको अफवाह फैलाउनु बाहेक केही गर्नसकेको देखिँदैन । दलीय पद्धतिमा राजनीतिक दलहरू फुट्ने र जुट्ने क्रम अनवरत देखिने विषय हो । गठबन्धन विचार मिल्नेबीच र आवश्यकता अनुसार हुनु स्वाभाविक हुन्छ । विचार नमिल्नेबीच हुने गठबन्धन अवसरवाद हो । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको गठबन्धन वास्तवमा शासकीय इच्छाले उत्पन्न गरेको अवसरवाद नै हो । विगतमा एमाले र नेपाली कांग्रेस बीचको तालमेल केही हदसम्म स्वाभाविक थियो । किनकि २०४७ पछि एमाले भरपर्दो लोकतान्त्रिक विकल्पजस्तो हुँदै थियो । तर २०७२ मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि यो पार्टीले विगतमा राजाहरूले अख्तियार गरेको कथित राष्ट्रवाद वरण गरेपछि यसको भूमिका सन्देहपूर्ण देखिन पुगेको छ । दक्षिणी छिमेकी विरुद्ध आक्रामक नीति बनाउनु नै राष्ट्रवाद हो भन्ने भ्रान्त धारणा देखिन्छ । माओवादी केन्द्र र एमालेबीच भएको चुनावी तालमेलले यसैलाई पुष्टि गरेको छ ।
यस यथार्थलाई हामी नकार्न सक्दैनौं कि पछिल्लो समय नेपालको राजनीतिमा आएका उतार–चढावले आगामी निर्वाचन कुनै पार्टीको अनुकूल रहेको छ भनी ठोकुवा गर्ने आधार भेटिँदैन । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको नेतृत्व गर्न केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । हामीलाई अवगत नै भएको कुरा हो कि पछिल्लो दशक नेपाली समाजमा धेरै परिवर्तन भएका छन् । कांग्रेसले सामाजिक स्तरमा आएका परिवर्तनलाई सधंै आत्मसात गर्दै आएको छ । विविध सञ्चारका माध्यम, जस्तै– फेसबुक, ट्विटर आदिको प्रयोगले कुनै व्यक्ति राजनीतिक घटनाक्रमका विषयमा अनभिज्ञ रहन सक्दैन । तसर्थ यी सामाजिक सञ्जालहरूमार्फत कांग्रेसले डिसप्ले अभियानको सुरुवात गर्नुपर्छ । यसमा निर्वाचन केन्द्रित कार्यक्रम सु–सूचित गराई आम जनताको राय लिन सकिन्छ । कम्युनिष्ट गठबन्धनपछि लोकतान्त्रिक गठबन्धनका विषयमा धेरै कुरा उठिरहेको छ । कांग्रेसले अहिले सम्पूर्ण ध्यान गठबन्धनका लागिमात्र दिएर पुग्दैन । पार्टीलाई आन्तरिक रूपमा एकीकृत बनाउने र गठबन्धनका लागि वार्ता गर्ने दुवै कार्यलाई समानान्तर रूपमा अगाडि बढाउनु पर्नेछ । पार्टी भित्रका नेताहरूको क्षमताको पहिचान गरी निर्वाचन केन्द्रित जिम्मेवारी समयमै तोक्नुपर्छ । उम्मेदवार छनोट गर्ने विषयमा गम्भीर हुन आवश्यक छ । गैरसाम्यवादी दल रहेका लोकतान्त्रिक पार्टीहरूले सम्भव भएसम्म भरपर्दो विकल्प तयार गर्ने क्षमता राख्नुपर्छ । एमाले–माओवादी तालमेललाई चुनौती दिने हो भने कांग्रेसले सोच, व्यवहार र आचरण परिवर्तन गर्नु जरुरी छ । कांग्रेस नेतृत्व सरकारले गरेका धेरै महत्त्वपूर्ण निर्णय छन् । कांग्रेस सरकारले नै प्रस्ताव गरेको स्वास्थ्य बिमा विधेयक संसद्ले पारित गर्यो । यो नेपालको स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो फड्को हो । यस निर्णयको आम नेपालीले उचित मूल्यांकन गर्नुपर्छ । स्थानीय निर्वाचनमा पहिलो उम्मेदवारका रूपमा षुरुषलाई बढी प्राथमिकता दिएको पाइयो । अन्तरपार्टी वार्ता र बहसको नेतृत्व गर्नसक्ने शिक्षित र प्रभावशाली महिलालाई नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभाको उम्मेदवार बनाउनुपर्छ ।
विविधा
विमानस्थल व्यवस्थापनको बाटो
- आशिष गजुरेल
आशिष गजुरेल
सरकारले जारी गरेको नेपाल पर्यटन रणनीतिले सन् २०२५ सम्म वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल भित्रिने विदेशी पर्यटकको प्रमुख प्रवेशद्वार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । पर्यटन पूर्वाधारमा निकै पछाडि परेको हाम्रो देशमा यस विमानस्थलको अवस्थाले पर्यटक आवागमनमा समेत निकै महत्त्व राख्ने गर्छ । तर यो विमानस्थल विश्वकै अव्यवस्थितमध्ये एक रहेको विभिन्न प्रतिवेदनले देखाइसकेका छन् । दुई वर्षअघि गएको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण उत्पन्न इन्धनको अभावले अघिल्लो वर्षको तुलनामा अन्तर्राष्ट्रिय यात्रुको संख्या घट्न पुग्यो । सामान्य अवस्थामा भने यो विमानस्थलबाट आवत–जावत गर्ने यात्रुको संख्या वार्षिक १३ प्रतिशतको हाराहारीमा वृद्धि भएको पाइन्छ । यात्रुहरूको संख्यामा दोहोरो अंकमा वृद्धि भए पनि यसलाई व्यवस्थापन गरी गुणस्तरीय सेवा दिन विमानस्थल असक्षम देखिएको छ । यात्रुको चापको समयमा मात्र होइन, यात्रुको संख्या कम भएका बेला पनि विमानस्थलको व्यवस्थापकीय कमजोरी देखिने गरेको छ । विमानस्थलको सेवाको गुणस्तर सुधार गर्न विभिन्न समयमा तत्कालीन पर्यटन मन्त्रीले अवलोकन गरी निर्देशन दिने गरेको पाइन्छ । तर त्यसको कार्यान्वयन भने प्रभावकारी ढंगबाट भएको पाइँदैन । तर पनि विमानस्थलको पूर्वाधारमा खासै सुधार नभए पनि सरसफाइ तथा सुरक्षाजाँच प्रक्रियामा भने तुलनात्मक रूपमा सुधार देखिन्छ । आवश्यक पूर्वाधारको कमी, धावनमार्ग एकमात्र हुनु, टर्मिनलको संख्या अपर्याप्त हुनु लगायतका कारण विमानस्थलको व्यवस्थापनमा कठिनाइ देखिने गरेको छ । यसका कारण बढ्दो पर्यटकको आवागमनसँगै उनीहरूलाई दिनुपर्ने सेवा यस विमानस्थलको विद्यमान पूर्वाधार र संरचनाबाट दिन नसकिने देखिन्छ ।
स्पेनी परामर्शदाता कम्पनी इनेकोले गरेको एक अध्ययनले पनि अहिलेको स्थितिमा यस अन्तर्राष्ट्रिय विमानस्थलले हवाइयात्रु आवागमनको भार सन् २०२१ सम्ममात्र धान्न सक्ने देखाएको छ । अबको करिब तीन वर्षमा हामीले त्रिभुवन विमानस्थलको व्यवस्थापनमा व्यापक सुधार गरी गुणस्तरीय सेवा दिनसक्ने गरी स्तरोन्नति गर्नुपर्ने बाध्यता भइसकेको छ । हुन त यस विमानस्थलको स्तरोन्नतिका लागि प्रयासै नभएको भने होइन । सन् २००९ मा एसियाली विकास बैंकको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गुरुयोजना बनाइएको थियो । त्यस अन्तर्गत पहिलो चरणको परियोजना एसियाली विकास बैंक र नेपाल नागरिक उड्डयन प्राधिकरणको करिब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको संयुक्त लगानी हाल कार्यान्वयन भैराखेको छ । अन्य चरणका योजना कार्यान्वयन गर्न थप ५० अर्ब रुपैयाँ लाग्ने आंँकलन छ ।
विमानस्थल विकास कुन अवधारणामा ? नेपाल सरकारसँग आर्थिक स्रोत, प्रविधि तथा मानवस्रोत सीमित रहेको अवस्थामा निजी क्षेत्रलाई परियोजना कार्यान्वयनमा संलग्न गराउनुको विकल्प देखिँंदैन । यस परियोजनामा विदेशी लगानी तथा निजी क्षेत्रलाई आकर्षित गर्न सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणा अनुसार विमानस्थलको स्तरोन्नति गर्नु अहिले उत्तम विकल्प हो । विश्वका अत्याधुनिक विमानस्थलहरू यसै अवधारणाबाट सफल रूपमा कार्यान्वयन भएको पाइन्छ । यस्ता विमानस्थलमा उठ्ने राजस्वमध्ये गैरउड्डयन राजस्वको हिस्सा ३० देखि ४० प्रतिशत हुने गर्छ । कुनै–कुनै विमानस्थलमा त यसको योगदान ६० देखि ७० प्रतिशतसम्म पनि पाइएको छ । तर हाम्रो विमानस्थलमा भने यसको मात्रा २० प्रतिशतभन्दा कम छ । विश्वका ३० प्रतिशत विमानस्थल पीपीपीको अवधारणा अन्तर्गत सञ्चालनमा छन् भने २०२५ सम्म यो संख्या ५० प्रतिशतसम्म पुग्ने विभिन्न अध्ययनले देखाएका छन् । हाम्रै छिमेकी भारतका प्रमुख सहरहरू दिल्ली, मुम्बई, साउदी अरेबियाको मदिना विमानस्थल, जर्मनीको बर्लिन–ब्रन्डनबर्ग विमानस्थल, हैदरावाद, जोर्डनको क्विन आलिया लगायतका विमानस्थलको स्तरोन्नति तथा सञ्चालनमा पीपीपी आवधारणा कार्यान्वयन सफल भएका उदाहरण हुन् ।
निजी क्षेत्रको संलग्नता किन ? पीपीपीको अवधारणा भनेकै सरकारको नीतिगत सहयोग र निजी क्षेत्रको पुँजी, प्रविधि तथा विज्ञतामार्फत परियोजना निर्माण तथा सञ्चालन हुने र जोखिमको बाँडफाँडमार्फत आपसी लाभ सुनिश्चिता गर्नु हो । यस अवधारणाबाट भारतको हवाई उड्डयन प्राधिकरणले विमानस्थल व्यवस्थापनमा आफैं सक्षम हुँदाहँुदै पनि निजी क्षेत्रलाई आकर्षित गरी गुणस्तरीय सेवा दिंँदै आएको छ । दिल्ली, मुम्बई लगायतका विमानस्थल विश्वमा उत्कृष्ट विमानस्थलको सूचीमा पर्न सफल भएका छन् । पीपीपीको अवधारणा सरकारको भूमिका कमजोर गराउन होइन, सरकारको कामलाई निजी क्षेत्रको संलग्नतामार्फत सहज र गुणस्तरीय बनाउन खोजिएको मात्र हो । सरकारको काम परियोजना विकास, व्यवस्थापन र सञ्चालनबाट नियमन र अनुगमनमा परिणत गराएको मात्र हो । तुलनात्मक रूपमा सार्वजनिक क्षेत्रभन्दा निजी क्षेत्रको व्यवस्थापन क्षमता र दक्षता बढी हुने गरेको पाइन्छ । निजी क्षेत्रको संलग्नताले हाल निकै न्यून मात्रामा उठ्ने गरेको गैरउडान राजस्वमा बढोत्तरी हुने र यात्रुलाई गुणस्तरीय सेवा दिन सकिने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पनि पीपीपीको अवधारणा अनुसार सञ्चालन तथा स्तरोन्नति गर्नुपर्ने देखिन्छ । निजी क्षेत्रले विमानस्थल सञ्चालन गरे पनि संवेदनशील कार्यहरू अध्यागमन, भन्सार, सुरक्षा, हवाई ट्राफिक सञ्चार, मौसम विज्ञानजस्ता क्रियाकलाप नेपाल सरकारले नै सञ्चालन गर्छ ।
अबको बाटो त्रिभुवन विमानस्थललाई पीपीपीअन्तर्गत स्तरोन्नति र सञ्चालन गर्ने हो भने योसँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकासलाई पनि एउटै प्याकेजमा अगाडि बढाउनुपर्छ । दुबै विमानस्थलबीच प्रतिस्पर्धाको स्थिति सिर्जना भए निजी क्षेत्रका लागि बढी लगानी जोखिम आउन सक्छ, अनि विश्वसनीय र ख्यातिप्राप्त विकासकर्ता कम्पनीहरू आकर्षित नहुने स्थिति बन्छ । त्यसैले निजगढ र त्रिभुवन विमानस्थललाई प्रतिस्पर्धीको रूपमा नहेरी पुरकको रूपमा विकास गर्नुपर्छ । त्यसैले अल्पकालीन रूपमा त्रिभुवन विमानस्थललाई स्तरोन्नति गरी क्षमता बढाउनुपर्छ । अध्ययनहरूले देखाए अनुसार यस विमानस्थलको स्तरोन्नति गरे पनि वार्षिक ६० लाख यात्रुसम्मलाई मात्र सेवा प्रदान गर्न सक्छ । एसियाली विकास बैंकको तथ्यांक अनुसार सन् २०२८ सम्म नेपाल आउने हवाई यात्रुसंख्या ९० लाख हाराहारी पुग्ने देखिएको छ । त्यसैले यसको स्तरोन्नतिले मात्र बढ्दो यात्रुको चाप थेग्न नसक्ने भएकाले निजगढ विमानस्थलको अपरिहार्यता पनि टड्कारो देखिएको छ । त्यसैले दीर्घकालीन समाधानका लागि त्रिभुवन विमानस्थलको सञ्चालनलाई यथावत राखी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकास तथा सञ्चालन गर्नुपर्ने देखिन्छ । यसका लागि सरकारले नागरिक उड्डयन क्षेत्रमा दीर्घकालीन रणनीतिमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल दुबैको विकासका लागि निश्चित समय–तालिका बनाई पीपीपीको अवधारणा अन्तर्गत योजना सरकारले अविलम्ब ल्याउनुपर्छ । गजुरेल यातायात तथा ट्राफिक इन्जिनियर हुन् ।
कला र शैली
देवकोटाले के दिए ?
१०८ औँ लक्ष्मी जयन्ती
- कान्तिपुर संवाददाता
काठमाडौं (कास)– महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्ती बिहीबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्णऔंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौं डिल्लीबजारमा भएको थियो । दस वर्षको उमेरमा कविता लेख्न सुरू गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल सााकृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसाग तुलना गरेका थिए भने नाट्य सम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत देवकोटाले महत्त्वपूर्ण योगदान दिएका थिए । विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नू/गराउनू र वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दस दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्न सक्ने क्षमता थियो । देवकोटाको कविप्रतिभा, कविताको गुणात्मक मूल्य र संख्यात्मक योगदानको चर्चा आज पनि हुन्छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताकाबीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता मानिन्छ ।
‘नेपाली काव्य र निबन्धमा आधुनिकता’
सरुभक्त श्रेष्ठ कुलपति, संगीत–नाट्य प्रज्ञा प्रतिष्ठान
महाकवि लक्ष्मीप्रसाद दोवकोटालाई नेपाली साहित्यमा म आफ्नो प्रेरणाको स्रोत मान्छु । उहाँ बहुआयमिक व्यक्तित्वको धनी हुनुहुन्थ्यो । उहाँको बहुआयमिक व्यक्तित्वले विद्यार्थी अवस्थादेखि नै मलाई प्रेरित गरेको हो । उहाँले बहुविधामा कलम चलाउनुभएको छ र लेखनमा पनि विविधता पाइन्छ । मलाई उहाँको मनपर्ने पक्ष पनि यही हो । लेखक एउटै शैलीमा बाँधिएर बस्नुहुन्न भन्ने सन्देश उहाँको कृति र रचनाहरूले दिन्छ । उहाँले ‘मुनामदन’ जस्तो सरल खण्डकाव्यदेखि ‘शाकुन्तल’, ‘सुलोचना’ जस्ता गम्भीर महाकाव्यसम्म रचना गर्नुभयो । त्यस्तै ‘सुनको बिहान’ जस्तो बालकवितादेखि ‘पागल’ जस्तो समसामयिक र जटिल कविता लेखेर जानुभयो । उहाँले संख्यात्मक र गुणात्मक दुवै रूपमा नेपाली साहित्यको भण्डार भर्नुभएको छ ।
महाकविको रूपमा परिचित हुनुहुन्छ नै तर उहाँ मेरो लागि महानिबन्धकार पनि हुनुहुन्थ्यो । उहाँका कविता जति सशक्त छन, निबन्धहरू पनि त्यति नै सशक्त र प्रेरणादायी छन् । मलाई उहाँको ‘लक्ष्मी’ निबन्धसंग्रह अद्वितीय लाग्छ । नेपाली निबन्धजगत्मा यो कृतिले माइलस्टोनको रूपमा काम गरेको छ । मैले ‘लक्ष्मी’ निबन्धसंग्रहमा समेटिएका निबन्धजस्तो सशक्त र सामाजिक चेतनायुक्त निबन्ध अहिलेसम्म अरूको पढ्न पाएको छैन । निबन्ध पनि शक्तिशाली हुन्छन् भन्ने सन्देश देवकोटाले दिनुभएको छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने पहिलो व्यक्तिको रूपमा मान्छु म उहाँलाई । नेपाली साहित्यको कृतिहरूमध्ये उहाँको ‘मुनामदन’ सबैभन्दा बढी बिक्री भएको मानिन्छ । यो कृति नेपाली भाषाका साथै अंग्रेजी, चिनियाँ भाषामा समेत प्रकाशित भएर लोकप्रिय भएको कुराहरू सुन्न पाएको छु । यसले पनि नेपाली साहित्यको गरिमा बढाएको छ । उहाँले अन्तर्राष्ट्रियस्तरमा आयोजित सभासम्मेलनमा समेत भाग लिएर नेपाली साहित्यलाई चिनाउने काम गर्नुभयो ।
जसले जे भने पनि हाम्रो साहित्यमा आधुनिकता भित्र्याउने देवकोटा नै हुनुहुन्छ । नेपाली साहित्यमा देवकोटाको अनुपस्थिति रहेको भए, नेपाली कविता र निबन्धमा आधुनिकता ल्याउन निकै समय लाग्थ्यो होला । ढिलोचाँडो आधुनिकता त आई नै हाल्थ्यो । तर त्यसका लागि धेरै समय लाग्थ्यो । विराट प्रतिभाका धनी देवकोटाले आधुनिक महाकाव्य रचनाको श्रीगणेश गर्नुभएको हो । महाकाव्य लेखनमा कविहरूले हत्तपत्त हात हाल्न चाहँदैनन् । तर उहाँले मात्र ‘शाकुन्तल’, ‘सुलोचना’, ‘प्रमिथस’ लगायत आधा दर्जन महाकाव्य लेख्नुभयो । ती सबै उत्तिकै राम्रा छन् । देवकोटा नहुनुभएको भए यत्तिको राम्रो साहित्य सृजना हुन धेरै व्यक्तिले लामो समय लगाएर धेरै नै परिश्रम गर्नुपर्थ्यो । देवकोटा एक्लैले ठूलो संस्थाले गर्नुपर्ने काम गरेर जानुभयो । मलाई देवकोटाको मनपर्ने तीन कृतिहरूमा ‘मुनामदन’ खण्डकाव्य, ‘प्रमिथस’ महाकाव्य र ‘लक्ष्मी’ निबन्धसंग्रह नै हो ।
‘रुखमा पालुवा पलाएजस्ता रचना’
तुलसी दिवस वरिष्ठ कवि, संस्कृतिविद्
२०१३/१४ सालको कुरा हुनुपर्छ । म धनकुटाबाट काठमाडौं आएको थिएँ । त्यतिबेला सुनधारास्थित ‘नेपाल भारत पुस्तकालय’ विशेष कवि गोष्ठी भएको थियो । उक्त कार्यक्रममा नाट्यसम्राट बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, शंकर लामिछाने लगायत साहित्यकारहरू उपस्थिति थियो । मैले काठमाडौंमा आएर पहिलोपटक त्यहीँ कविता सुनाएको थिएँ । अन्य कविहरूले कविता सुनाएपछि तालीको वर्षा भयो । त्यसपछि मेरो पालो आयो । मैले गम्भीर प्रकृतिको कविता सुनाएँ, खासै ताली बजेन । तर एकछिनमा मेरो ढाडमा थपथपाउँदै देवकोटाले ‘तिम्रो कविता राम्रो लाग्यो’ भन्दै कविताको तारिफ गर्नुभयो । मैले त्यति बेला ‘ताली नपिटिए पनि गम्भीर कविताको पनि आफ्नै महत्त्व हुन्छ’ भनेर थाहा पाएँ । विसं २०१६ मा देवकोटा साह्रै बिरामी हुनुभयो । उहाँलाई गौरीघाटमा समेत भेट्न पुगेको थिएँ । देवकोटाको कविता, निबन्ध, खण्डकाव्यहरू सुरुदेखि नै पढ्दै आएको थिएँ । उनका रचनाहरू स्वाभाविक र प्राकृतिक हुन्छन्, बनावटी हुन्नन्, वर्षामा पानी परेजस्तो, रूखमा पालुवा पलाएजस्तो हुन्छन् । उहाँ बहुआयमिक व्यक्ति हुनुहुन्थ्यो । उहाँका रचना जति राम्रा छन्, बोली र व्यवहार पनि उत्तिकै सरल थियो । उहाँ मलाई सहृदयी, हार्दिक लाग्थ्यो । कवि/लेखकलाई सहानुभूति राखेर हौस्याउनुगर्नुहुन्थ्यो उहाँ । उहाँका रचनाहरू अहिलेसम्म पनि लोकप्रिय छन् । उहाँ नहुनुभएको भए, नेपाली साहित्यमा के हुन्थ्यो भनेर भन्न त सक्दिनँ तर उहाँले नेपाली साहित्यलाई उकास्न धेरै योगदान दिनु भयो ।
कला र शैली
दिल्लीमा देखाइयो ‘सेम्की ताम’
- कान्तिपुर संवाददाता
काठमाडौं (कास)– लक्ष्मी पूजाको अवसर पारेर भारतको नयाँदिल्लीमा तामाङ कथानक फिल्म ‘सेम्की ताम’ (मनको कुरा) देखाइएको छ । प्रिया तामाङको प्रस्तुति रहेको यो फिल्म ह्योल्मो पाँचपोखरी तामाङ् संस्थाले बिहीबार बिहान र दिउँसो गरी नयाँदिल्लीस्थित आरके पुरम ६ कम्युनिटी हलमा दुई सो देखाएको हो । रोशन फ्युबाको निर्देशन रहेको फिल्म भारतीय नेपाली दर्शकमाझ देखाइएको यो दोस्रोपटक हो । गएको फेब्रुअरी १२ मा पनि नयाँदिल्लीमा यो फिल्म देखाएको निर्देशक फ्युबाले बताए । निर्देशक फ्युबाको यो तेस्रो फिल्म हो । ‘सेम्की ताम’ सिन्धुपाल्चोक भोताङ गाउँमा छायांकन गरिएको उनले बताए । ‘भोताङ गाउँकै सामाजिक–सांस्कृतिक विषयवस्तुलाई कथानक संरचनामा ढालिएको यो फिल्ममा मैले अलिक मौलिक स्वाद दिने कोसिस गरेको छु’, ‘ल्हाप्साङ कर्पो’ (गणेश हिमाल), ‘स्ह्याल्गार’ (सगुन), ‘हिमालकी रानी’ जस्ता फिल्म निर्देशक गरेका फ्युबाले भने, ‘पाँचपोखरी आसपासको अग्र्यानिक संस्कृति यसमा हेर्न सकिन्छ ।’ दिल्लीका नेपाली दर्शकहरूको प्रतिक्रियाले आफू हौसिएको बताउँदै उनले छिट्टै काठमाडांै, दुबई, कतार, बहराइन, अमेरिका लगायतका मुलुकमा फिल्मको च्यारिटी सो गर्न लागेको बताए । फिल्ममा कुमार मोक्तान, प्रिया तामाङ, नेत्रे लामा, लाल स्याङ्बो, सिद्धि लामा, साइँली वाइबा, उर्सी स्याङ्बो, पेमा टासी, सुक्का तामाङलगायतको अभिनय रहेको छ भने संगीत निर्देशक फ्युबा स्वयंको रहेको छ ।
कला र शैली
संस्कृति जोगाउन देउसीभैलो
- विमल खतिवडा
नारायणी कला मन्दिरले आयोजना गरेको देउसीभैलो कार्यक्रममा नृत्य गर्दै कलाकार । तस्बिर : विमल खतिवडा/कान्तिपुर
चितवन– पछिल्लो समय देउसीभैलो खेल्ने परम्परा लोप हुँदै गएको छ । पहिला मादलको तालमा भट्याउँदै देउसीभैलो खेल्ने गरिन्थ्यो । आशिक दिएपछि मादलको संगीतमा झ्याली मुजुरा बजाउँदै गीत गाएर नाच्ने चलन थियो । तर अहिले यस्तो परम्परा हराउँदै गएको छ । अहिले मोबाइल र स्पिकरमा ‘रेडिमेड’ गीत बजाएर देउसीभैलो खेल्न प्रतिस्पर्धा चल्छ । यो कार्यमा गाउँघर पनि अछुतो छैन । सहर बजारमा हिजो आज फाट्टफुट्ट देउसी खेल्दै गरेको देखिन्छ । तर यहांँ भने नारायणी कला मन्दिरले लामो समयदेखि देउसीभैलो कार्यक्रमको आयोजना गर्दै आएको छ । संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ कला मन्दिरले सबैको उपस्थितिमा देउसीभैलो कार्यक्रम गर्ने गरेको छ । कलाकार उत्पादन गर्ने कला मन्दिरले कलाकारकै उपस्थितिमा देउसीभैलो खेल्ने गरेको छ । ‘पहिला आफैंले गाएर देउसी भैलो खेल्ने परम्पराको सुरुवात गरियो,’ कला मन्दिरका पूर्वअध्यक्ष एवं कलाकार ऋद्धिचरण श्रेष्ठले भने, ‘अहिले मोबाइलमा गीत बजाएर नाच्ने चलन आयो, तर पनि कला मन्दिरले संस्कृति जगेर्ना गर्ने अभियान छाडेको छैन ।’उनी यसपालि पनि एक दिन देउसी खेल्न हिँडे । अझै देउसीभैलो खेल्ने जोस जाँगर मरेको छैन । ‘कला मन्दिरले देउसीभैलो खेल्न थालेको दशकौं भइसक्यो,’ उनले भने, ‘हाम्रो चाहना परम्परादेखि चलिआएको देउसीभैलो खेल्ने संस्कृति हराएर नजाओस् भन्ने हो ।’ पहिला भट्याउने गरिन्छ । त्यसपछि कला मन्दिरका कलाकारले तिहार गीतमा नाचेर सबैलाई मनोरञ्जन दिलाउछन् । गुन्यूचोली र दौरा सुरुवालमा सजिएर कलाकारले आकर्षक नृत्य गरेर सबैको मन जित्ने गर्छन् ।‘कला मन्दिर २०१९ सालमा स्थापना भयो,’ कला मन्दिरका पूर्व अध्यक्ष विज्ञानलाल श्रेष्ठले भने, ‘२०२५ सालदेखि देउसीभैलो खेल्न सुरु गरियो ।’ उनका अनुसार त्यो साल देउसी खेलेर २ हजार जम्मा भएको थियो । त्यही पैसाले भवनको जग खनिएको थियो । बेलाबेलामा सांस्कृतिक, साहित्यिक कार्यक्रम तथा नाटक मञ्चन गरेर दर्शकको मन जित्न सफल कला मन्दिर अहिले देउसीभैलो कार्यक्रमको आयोजना गरेर संस्कृति जगेर्ना गर्ने अग्रणी संस्थाको रूपमा चिनिएको छ ।
‘पैसाका लागि भन्दा पनि संस्कृति जगेर्ना गर्नु मुख्य उद्देश्य हो,’ उनले भने, ‘त्यही भएर देउसीभैलोमार्फत सबैको घर दैलोमा पुगिन्छ, सबै समुदायसँग आत्मीय सम्बन्ध कायम हुन्छ ।’ काग तिहारबाट देउसी खेल्न सुरु गरिन्छ । कला मन्दिरका पूर्वअध्यक्ष, कार्य समिति सदस्य, कलाकार भरतपुर र नारायणगढमा देउसी भैलो खेल्न व्यस्त हुन्छन् । ‘संस्थागत रूपमा देउसीभैलो कार्यक्रम गर्ने गर्नेमा कला मन्दिर अग्रणी संस्थामा पर्छ,’ कला मन्दिरका कार्यबहाक अध्यक्ष अमरदेव प्रधानले भने, ‘ उद्देश्य कला संस्कृतिको जगेर्ना गरी लोप हुन नदिनु नै हो ।’देउसीभैलो कार्यक्रम हेर्न बजारमा सर्वसाधारणको भीड लाग्छ । संस्थाका पूर्वअध्यक्षहरू पाका उमेरका छन् । उनीहरू सबै देउसीभैलो कार्यक्रममा सरिक हुन्छन ।
कला र शैली
सिग्देलका दुई कृति
- कान्तिपुर संवाददाता
इनरुवा (कास)– पण्डित कृष्णप्रसाद सिग्देलका दुई कृति लक्ष्मीपूजाको अवसर पारेर बिहीबार विमोचन भएका छन् । ८४ वर्षीया सिग्दलेका ‘कोरीबाटी संस्कृति’ र ‘देउसीभैलो’ गीति संग्रह प्रा.डा. कृष्णप्रसाद दाहालले सार्वजनिक गरे ।कोरीबाटी संस्कृतिमा सात खण्ड छन् । पहिलो खण्डलाई ‘कोरीबाटी जेठी’ शीर्षक दिइएको छ, जसमा सामाजिक सचेतनाको पक्षलाई केलाइएको छ र परम्परावादी र आधुनिक समाजबीचका भिन्नताबारे उल्लेख गरिएको छ । दोस्रो खण्डमा नेपालको परम्परागत कृषि प्रणाली, मासिँदै गएका खेतीयोग्य जमिनबारे लेखकको चासो पढ्न पाइन्छ । तेस्रो खण्डमा कृषक–पथिक संवाद, चौथो खण्डमा यक्ष र युधिष्ठिर संवाद, पाँचौँ खण्डमा समय सारथी, छैटौँ खण्डमा काव्यवाटिका र सातौँ खण्डमा उखानको बखानबारे पढ्न पाइन्छ । ‘यो पुस्तक पुर्खाको नासो युवा पिँढीलाई सुम्पिइएको एउटा संग्रह हो,’ कोरीबाटी किसानसम्बद्ध शब्द रहेको उल्लेख गर्दै प्रा.डा. दाहालले थपे, ‘उमेरले नेटो काटिसक्दा पनि सिग्देलले नासिन लागेको हाम्रो किसाने संस्कृतिलाई संग्रह गर्नु यो पुस्ताका लागि ठूलो उपहार हो । यसले राष्ट्र र राष्ट्रियताको भाव जगाउने काम गरेको छ ।’ ‘देउसीभैलो’ लोक भाकामा लेखिएको छ, जसमा देउसी खेल्दा गाइने गीतहरू समावेश छन् । यम पञ्चकमा गरिने पूजाहरूको विधि र मन्त्रसमेत यसमा पाइन्छ ।
कला र शैली
यस्तो छ तिहारको योजना
‘माला गाँस्न सघाउँछु’ सुरवीर पण्डित, अभिनेता तिहारमा नयाँनौलो खासै केही हुन्न मेरो । एक दिदी, बहिनी र भाइ छन् । उनीहरूसँगै रीतिरिवाज मनाउँछु । कहिले हामी दुई भाइ चेलीबेटीकहाँ जान्छौं, कहिले उनीहरू नै माइती आएर टीका लगाइदिन्छन् । गतिलो उपहार दिन सकिएको छैन । तैपनि खुसी नै छौं हामीहरू । दुई वर्षअघिसम्म ‘मेरी बास्सै’ टोलीबाटै देउसीभैलो खेल्न गइन्थ्यो । त्यसयता चाहिँ गाउँ (शिवपुरी) मै रमाइलो गरिरहेको छु । यो बेला फुर्सद हुने भएकाले साथीभाइसँग भेटघाट गर्छु । सफासुग्गर गर्ने, माला गाँस्ने काममा सहभागी हुन मनपर्छ ।
‘टीका थाप्न घर जाँदै छु’ मदन गोपाल, गायक विद्यार्थीरूलाई तिहारको सांस्कृतिक पक्षबारे जानकारी दिएँ यसपालि । उनीहरूलाई देउसी– भैलो गाउन लगाइयो । कुकुर तिहारदेखि स्कुल बिदा भयो । म पनि अब टीका थाप्न मोरङ जाँदैछु । दिदी उतै हुनुहुन्छ । हामी चार भाइकी एक मात्र दिदी भएकाले सबैजना एकै ठाउँमा भेला हुनुपर्छ । धेरै जना दिदीबहिनी भइदिएको भए बाँड्न मिल्थ्यो । हाम्रो सवालमा त्यो सम्भव छैन । मैले प्राय: भाइटीका मिस्ड गरेको छुइनँ । दिदीलाई नमिलेको बेला ठूलोबुवाका छोरीहरूले टीका लगाइदिन्छन् । उनीहरूलाई जिन्सी उपहार दिन्नँ, पैसा दियो आनन्द !
‘अस्ट्रेलियामै तिहार’ सन्ध्या केसी, अभिनेत्री हामी चारै जना सिब्लिङ्स एकठाउँ भएर भाइटीका नमनाएको थुप्रै वर्ष भइसक्यो । दुई जना दिदी विदेशमा हुनुहुन्छ । भाइ र म यहीँ छौं । तर, पोहोर साल र यसपालि म पनि तिहारमा अस्ट्रेलिया जानुपर्ने भयो । लक्ष्मीपूजाको साँझ उड्दै छु । जानुअघि भाइलाई गिफ्ट, मरमसला र अरू सामान दिइसकें । उसले पनि गिफ्ट दियो । भाइटीकाको दिन अस्ट्ेरलियाकै एक जना दाइलाई टीका लगाइदिन्छु । पोहोर पनि उहाँसँगै भाइटीका मनाएकी थिएँ । विदेशको तिहार र नेपालको तिहारमा धेरै फरक हुँदो रहेछ । यतै रमाइलो लाग्यो मलाई त ।
‘पप्पीलाई पनि टीका’ आकांक्षा बस्याल, गायिका मेरो एउटा भाइ छ, उहीसँग भाइटीका मनाउँछु । अनि सानो पप्पीलाई पनि टीका लगाइदिन्छु । पप्पी मेरो भाइसरह नै लाग्छ । कक्षा ९ मा पढ्ने भाइलाई कपडा किनिदिएको छु । उसले पनि पैसा जम्मा गरेर गिफ्ट किन्न थालेको छ पोहोरदेखि । त्योभन्दा अघि भाइको तर्फबाट बाबाममीले नै उपहार दिनुहुन्थ्यो । स्कुल पढ्दा मैले एक जना दाइ बनाएकी थिएँ । उहाँलाई टीका लगाइदिन्थेँ । अहिले दाइ अमेरिका जानुभयो । होस्टल बस्दा मैले ६/७ जना साना भाइहरूलाई टीका लगाइदिएको सम्झिँदा रमाइलो लाग्छ ।
‘विदेशी साथीसँग घुम्दै छु’ हरि महर्जन, गितारवादक ४१ वर्षदेखि एउटै तरिकाले तिहार मनाएँ । योपालि फरक गर्दै छु । दुई जना अमेरिकन म्युजिसियन आएका छन् । उनीहरूसँगै काठमाडौं छेउछाउका सहरहरूमा गएर गिटार बजाउँदै, गीत गाउँदै गरिरहेको छु । धुलिखेल, पाटन, कीर्तिपुरतिर पुगिसक्यौं । व्यवसायिक पाराले होइन, आफ्नै रमाइलोका लागि यसो गर्दा मज्जा आइरहेको छ । म्युजिकमार्फत् हामी नेपाली र अमेरिकन संस्कृति साटासाट गरिरहेका छौं । मैले आजसम्म भाइटीका मनाएको छैन । मेरा दिदीबहिनी छैनन् । कसैलाई बनाउन पनि सकिएन ।
‘फोनबाटै भाइटीका’ आश्तिक शेरचन, फेसन डिजाइनर दिदी अमेरिकामा हुनुहुन्छ । उहाँलाई नभेटको धेरै भइसक्यो । चार वर्षअघिको तिहारमा म उतै थिएँ । त्यसयता दिदी र म फोनबाटै भाइटीका विस गरिरहेका छौं । तिहारकै लागि भनेर गिफ्ट पठाउने गर्नुहुन्नँ । अरू बेला पठाइरहने भएकाले मलाई पनि वास्तै हुँदैन । तर, दिदीभाइ, दाजुबहिनीको पर्व भएर होला, यो बेला दिदीको याद चाहिँ आउँछ । यद्यपि, काका/मामाका छोरीहरूले टीका लगाइदिनुहुन्छ । कजन सिस्टरहरू ६/७ जना छन् । उनीहले तिहार स्पेसल बनाइदिन्छन् । हाम्रो परिवार ठूलो भएकाले चाडबाडमा यसै पनि रमाइलो हुन्छ ।
‘अघाउन्जेल सेलरोटी खान्छु’ केशव राई, रंगकर्मी सेलरोटी बनाउन आउँदैन, खानचाहिँ मनपर्छ । दिदीहरूले बनाउनुहुन्छ । उहाँहरूकोमै गएर अघाउन्जेल खान्छु । पाँचमध्ये चार जना दिदी बूढानीलकण्ठमा बस्नुहुन्छ । एक जनाचाहिँ गाउँ (सोलुखुम्बु) मै भएकाले उहाँ छुट्नुभयो यसपालि । आउनु पो हुन्छ कि † मेरा दुई जना दाइ बेलायततिर हुनुहुन्छ । ८ जना छौं जम्मा । सबै छरपस्ट भएको १०/१५ वर्षै भइसक्यो । सबैले सँगै तिहार मनाएको त यादै छैन मलाई । बरु, गाउँमा छँदा तिहारको बेला नाटक खेलेको सम्झना आउँछ । कसले राम्रो नाटक देखाउने भनेर कम्पिटिसनै चल्थ्यो ।
ल प्रस्तुति : सजना बराल
कला र शैली
राम्चे गाउँको तामाङ सेलो
- सजना बराल
गायक अमृत गुरुङ लोकभाका खोज्ने क्रममा ।
काठमाडौं– गायक अमृत गुरुङ प्राय: घर बस्दैनन् । डुलिरहन्छन् । कहिले कार्यक्रमको लागि, कहिले घुम्न त कहिले गीत खोज्न हिँड्छन् । अरू कुरा मिले पनि गीतचाहिँ खोजेका बेला सँधै भेटैनन् । दुई/चार महिनै गाउँघर भौतारिँदा समेत एउटा भाका फेला नपरेको अनुभव उनीसँग प्रशस्तै छन् । तर, यी ‘अन्वेषक’ लाई कहिलेकाहीँ कागताली पर्छ । विसं २०५९ तिर यस्तै भयो । उनी तीन साथीभाइसहित गीत खोज्न निस्किए । रसुवाको लाङटाङ भेग उनीहरूको गन्तव्य । चैत/बैसाख, गुराँस फुल्ने याममा दुई/चार दिन डुलेपछि समूहले ‘भेडाको ऊनजस्तो...’ फेला पार्यो । गुरुङका मित्र, पत्रकार एवं लेखक नारायण वाग्लेले त्यो भावमा शब्द भरेर अमृतलाई दिने भए । किरण कृष्ण श्रेष्ठ डकुमेन्ट्री बनाउनतिर लागे ।‘भेडाको ऊन...’ लिएर काठमाडौं फर्किने क्रम सुरु भयो । त्यही बेला रसुवा र नुवाकोटको सिमानामा पर्ने राम्चे गाउँमा उनीहरूले अर्को पनि गीति लय फेला पारे । ‘एक हूल तामाङ केटाकेटी हामी भएछेउ आए’, गायक गुरुङ सम्झन्छन्, ‘उनीहरूलाई गीत गाऊ भन्यौं । सुरुमा मानेनन् । पछि तिनले दुइटा भाका सुनाए । दुवै राम्रा ।’ तीमध्ये एउटा थियो–सिरानमा फोटो छ मै मरी जाउँला, जीवन छोटो छ...गीत वा गीतको भाव भेटाउनु भाग्यको कुरा हो, यसै भन्छन् अमृत । त्यो दिन आफूहरू भाग्यमानी ठहरिएको उनले माने । एकै पटकको भ्रमणमा तीन वटा गीति भाव फेला परेको थियो । त्यसरी विम्ब फेला पर्नु भनेको भ्रमणका बेला बाटो पत्ता लगाउनु सरह भएको उनले बताए । ‘बाटो भेटेपछि गन्तव्यमा पुगिन्छ’, उनले भने, ‘हामीले गुदी भेट्टाएका थियौं । गुदी वा विम्ब भेटाएपछि इलाबोरेसन ठूलो कुरा हुँदैन ।’
अृमतले सहज मानेको काम बन्न चाहिँ निकै समय लाग्यो । शब्द संकलनको जिम्मा लिएका पत्रकार वाग्लेले ‘भेडाको ऊन...’ का लागि मात्रै शब्द फुराए । ‘सिरानमा फोटो छ...’ अधुरै रह्यो । अमृत नारायणलाई झक्झकाइरहन्थे । तर, नारायण टाउको कन्याउने मात्र । सन् २००८ मा भने उनलाई गीत नभइ भएनछ । ‘तिमी नलेख्ने भए मै लेख्छु’ उनी नारायणसँग कडकए । ‘ऊ हाँस्यो’, अमृतले भने, ‘अनि मैले नै लेखेँ ।’ अन्नपात नहुने भएकाले लाङटाङ क्षेत्रका युवा पहिलेपहिले रोजगारीका लागि कि त पर्यटकको भरिया बन्थे वा काठमाडौं, पोखरातिर लाग्थे । तर, अमृतहरू गाउँ पुगेका बेला वैदेशिक रोजगारीको जमाना सुरु भइसकेको थियो । हिमाली भेग युवाविहीन थियो । सबै मलेसिया र खाडी भासिएका थिए । ‘उनीहरूकै सम्झनामा कुनै लोक कविले पंक्ति फुराएका रहेछन्’, संकलक गुरुङले भने, ‘ती पंत्तmि हामीले सुन्यौं । र, त्यसकै भावमा मैले शब्द थपें । कुनै जनकविले लेखेको गीत नेपथ्यले गाउने अवसर पायो ।’
ब्यान्डको नवौं एल्बम ‘ऐनाझ्याल’ मा समावेश गर्ने उद्देश्यले गीतको काम अघि बढ्यो । गुरुङले ब्यान्ड मेम्बरलाई कम्पोजिसन सुनाए । सबैले आआफ्नो पार्ट बजाउँदा गीत गज्जबै सुनियो । बागडोलको फिनिक्स स्टुडियोमा रेकर्ड गर्ने टुंगो लाग्यो । त्यसका लागि दुई जना अतिरिक्त वाद्यवादक खोजिए । वरिष्ठ मादलवादक खड्ग बुढा र बाँसुरीवादक बलराम समालले ब्यान्डलाई सघाए । तामाङ सेलोमा झ्याउरे मिक्स्ड भएको गीतलाई नेपथ्यले आफ्नो शैलीमा इम्प्रोभाइज्ड गरेको छ । पपरक प्याटर्नमा ढाल्न ब्यान्डले मादल र बाँसुरीसँगै ड्रम्स, बेस, गिटार र किबोर्डमा पनि प्रशस्त खेल्नु पर्यो । यद्यपि, अमृत यो गीतलाई अति साधारण मान्छन् । ‘सिम्पल गीत हो यो,’ उनले भने, ‘कुनै कोणबाट उच्छृंखल छैन । हाँस्दै, नाच्दै गाउनु पर्छ । पीडा छ तर एक दिन सबै ठीक हुन्छ भन्ने सोच्नुपर्छ ।’आफूले पनि बेला–बेला नाच्दै गाउने गरेको उनले बताए । स्टेजमा बजिसकेको गीतको भिडियो हालै लन्च गरिएको छ । युट्युबमार्फत बाहिर आएको लिरिकल म्युजिक भिडियोमा प्रकाश रञ्जितको इलुस्ट्ेरसन देख्न सकिन्छ । वैदेशिक रोजगारीको पीडा समेटिएको गीतलाई उनको इलुस्ट्ेरसनले थप वजन दिएको भान हुन्छ । ‘यो गीत मेरा लागि सिंगो किताब हो’, अमृतले भने, ‘साधारण मान्छेले भोगेको नियति छ यसमा ।’
कला र शैली
देउसीसँगै हुर्रा
- रमेशचन्द्र अधिकारी
धनकुटाको चौबिसेमा मगर समुदायको लोकप्रिय हुर्रा नृत्य नाचिँदै । तिहारको समयमा नाचिने हुर्रा पूर्वी नेपालमा लोकप्रिय छ । तस्बिर : रमेश/कान्तिपुर
धनकुटा– चेली माइती मिलिमा जुली हुर्रा नचाउ‘ला रमाइलो गरौं, यो चौतारीमा भारी है बिसाउ‘ला गाईतिहारे औंसी, खेलिजाउँ देउसी देशै रमाइलो............. गाउ‘बस्तीमा मगर समुदायको लोकप्रिय हुर्रा नाचले तिहारको स्वागत गरिसकेको छ । जिल्लाको मुढेबासबाट हुर्रा नाचको सुरुवात भएको मगर समुदायका अग्रजको दाबी छ । यसर्थ यतिबेला विशेषत: चौबिसे क्षेत्रमा मादल, बासुरी, खैजडीसहित हुर्राको आकर्षक भाका ‘हुर्रा हा..हा...’ र ‘देशै रमाइलो...’ ले रौनकता छाएको छ । गाउँबस्तीमा जोर मादल र बाँसुरीको साथमा हुर्राको रौनक सुरु भइसकेको मगर संघका जिल्ला अध्यक्ष जेवी घले बताउ‘छन् । जिल्लाको वसन्तटार, भेडेटार, राजारानीलगायत चौबिसे क्षेत्र तथा खाल्सा छिन्ताङ सहिदभूमि गाउ‘पालिका महालक्ष्मी नगरपालिका लगायत मगर समुदायको बाहुल्य बस्तीमा प्रत्येक वर्ष तिहारको समयमा हुर्रा नृत्यले रमाइलो प्रदान गर्ने मगर संघका पूर्वसचिव इन्द्र सारु मगर बताउँछन् । खासगरी मुलुकको पूर्वी केही जिल्लामा लोकप्रिय हुर्रा नाच धनकुटासँगै सुनसरी, मोरङलगायतका जिल्लामा पनि विस्तार हु‘दै गएको मगरले बताए ।आफ्नै मौलिक पहिरनमा युवा युवतीहरू नृत्य र बाध्यवादनमा सहभागी हुने र वृद्धवृद्धा भने गीतको भाका हाल्न व्यस्त छन् । हुर्रामा चेली र माइतीबीचको भातृत्व प्रेम दर्साउने गरिएको वसन्तटारका मनप्रसाद मगरको भनाइ छ । एकापसमा हात समाएर गोलो घेरा लगाउँदै नाचिने हुर्रामा नाच्दानाच्दै दिन र रात बितेको समेत पत्तै नहुने उनले बताए । हुर्रा भाकाको उद्गमस्थल चौबिसे गाउँपालिका १ ठुलो मुक्ताराका युवा जमातले त केही दिनदेखि प्रस्तावित कोपिला युवा क्लबमार्फत जिल्लाका विभिन्न स्थानमा पुगेर हुर्रा नृत्य प्रस्तुत गर्दै क्लबका अध्यक्ष दिवश मगरले बताए ।
भीमकुमारी मगर पनि हुर्राको भाका हाल्न निकै सिपालु मानिन्छिन् । मादल, बाँसुरी बजाउने र भाका हाल्नेहरू नृत्य गर्नेको गोलो घेराभित्र रहन्छन् । नृत्य गर्नेहरू विस्तारै गीतको भाकामा चालमा चाल मिलाएर घुम्दै नाचिने गरिएको हुर्रामा सबै उमेर समूहका सहभागी हुन्छन् । तर नृत्यमा युवा युवतीको आकर्षण बढी रहने सहभागी सुवास मगर बताउँछन् । मगर मुक्ति मोर्चाका संयोजकसमेत रहेका सुवासले मादल र झ्यालीको ताल तथा गीतको भाका नाच्नका लागि जोसिलो हुने हुनाले मगरबाहेक अन्य समुदाय पनि हुर्रामा झुम्न आउने गरेको बताए । हुर्रा नृत्यलाई व्यवस्थित गर्न इन्द्र सारु, जेवी घले, मनबहादुर आले, डम्बर रानालगायतका युवा जमात अग्रसर छन् । विशेषगरी तिहारमा नाचिने हुर्रा पछिल्लो समय मेला, महोत्सवमा पनि प्रस्तुति गरिने मगर संघका जिल्ला अध्यक्ष घलेले बताए ।प्राय: घरघर गएर देउसीभैलोको रुपमा नाचिने यस नृत्य समूहलाई मौलिक पेयपदार्थ (जाड रक्सी), सेल, फलफूल, अन्न र नगद दिइने परम्परा रहेको सहभागी छ । मादल, बाँसुरी र नृत्य गर्नेको पोसाकसँगै गीतको भाका सबैको सम्मिश्रित रूपले लोभ्याउने गरेको सहभागीहरू बताउँछन् । गीतको भाका आकर्षक र नाच्न सहज हुने भएकोले पछिल्लो समय मगर समुदाय बाहेकका अन्य जातजातिले पनि हुर्रामा सहभागी हुनेक्रम बढेको छ ।
कला र शैली
सागरलाई पियानो र सुन उपहार
- मञ्जु गुरुङ
सोल (दक्षिण कोरिया)– नेपाल आइडलका टप फोर गयक सागर आलेलाई कोरियाबासी नेपालीहरूले लाखौ रुपैयाँ नगदका साथै पियानो र सुनको औंठीसमेत उपहार प्रदान गरेका छन् । हालै आयोजित कार्यक्रममा मगर संघ कोरियाबाट उनलाई ७ लाख १२ हजार रुपैयाँ र पियानो उपहार प्रदान परिएको थियो । त्यस्तै गजेदोका मगर कमिटी र लुम्बिनी रेस्टुरेन्ट लगायत विभिन्न संघ संस्था र व्यक्तिबाट नगद र सुनको औंठी उपहार प्रदान गरिएको थियो । कोरियन पर्व छुसकको अवसरमा आदिवासी जनजाति महासंघ दक्षिण कोरिया बुसान शाखाको निमन्त्रणामा सांगीतिक कार्यक्रम एवं दीपावली साँझको लागि सागर आले कोरिया आएका थिए । कार्यक्रममा दर्जन बढी गीत गाउँदा पनि वान्स मोरको स्वर गुन्जिरहेका थिए । सागरसँग स्टेजमा फोटो खिच्न दर्शकलाई एक घण्टा समय दिँदा पनि अपुग भएपछि बाध्य भएर बन्द आयोजकले रोक्नु परेको थियो । त्यस्तै, राजधानी सोलमा अर्घाखाँची सम्पर्क मञ्चले गरेको ‘सुपादेउराली सांगीतिक सौगात भाग १’ मा पनि सागरलाई दर्शकको अपार माया मिलेको थियो । सागरको गायकीको तिर्सना मेटाउन नसकेका दर्शकहरू पटक–पटक वान्स मोर दोहोराइरहेका थिए । स्टेजको अग्रभागमा झुम्निे सयौं दर्शक मात्र हैन हलको कुना–कुनाबाट रमाउनेहरूको कमी थिएन । नेपाल आइडलबाट बाहिरीएपछि पहिलो विदेश भ्रमणको रुपमा उनी कोरिया आइपुगेका हुन् । छसकको अवसरमा कोरियामा गरिएको सांगीतिक कार्यक्रममा नेपाल आइडलका अन्य गायक सुरज थापा र गायिका प्रमिला राई पनि आएका थिए ।
प्रदेश समाचार
‘शत्रुवत् गाउँ’ मा फर्कियो सद््भाव
- वेदराज पौडेल
नाचगान गरेर रमाइलो मनाउँदै सुनसरीको इनरुवा नगरपालिका–७ चाँदबेलाका स्थानीय । तस्बिर : वेदराज /कान्तिपुर
चाँदबेला (सुनसरी)– दुई वर्षपछि गाउँमा सद्भाव फर्किएको छ । एक–अर्कालाई ‘मार्न र मर्न’ तयार हुनेहरू अहिले एउटै आँगनमा नाचगान गर्न व्यस्त छन् । साबिकको चाँदबेला गाविसको भन्सियामाई टोल उत्तर र दक्षिणका स्थानीयका बीचमा ठूलो तीक्तता बढ्यो । एउटा गाउँबाट अर्काे गाउँसम्म आउजाउ नै बन्द भयो । यो गाउँ अहिले भने पूर्ववत् अवस्थामै फर्किएको छ ।चेली माइत आएका बेला गाउँकै युवकले जबरजस्ती विवाह गरेको घटनापछि स्थानीयका बीच शत्रुवत् सम्बन्ध थियो । उक्त घटनापछि दुई गाउँका बीचमा मारमारको अवस्था आयो । पटक–पटक झडप भयो । दुवै गाउँका सयौं घाइते भए । उनीहरू भन्सियामाई खेलमैदानलाई सिमाना बनाएर आपसमा लड्न थाले । झुक्किएर पनि एक–अर्काको गाउँमा पुग्दा सद्दे अवस्थामा कोही फर्किंदैनथे । घाइते लाई एम्बुलेन्सबाट सिधै अस्पताल पुर्याइन्थ्यो । एउटै गाउँका करिब दुई सय पुरुष विस्थापित भए । उनीहरूले आफन्तकामा शरण लिए । प्रहरी चौकी स्थापना भएपछि बल्ल घर फर्किए । सुरक्षाका लागि दुई गाउँका बीचमा प्रहरीको अस्थायी पोस्ट नै स्थापना गरियो ।त्यो अहिले फेरिएको छ । दुवै गाउँको साँध मानिएको भन्सियामाई खेलमैदानमा विगतको तीक्तता बिर्सेर स्थानीय कुममा कुम जोडेर नाचिरहेका भेट्टिए । ‘बहुसांस्कृतिक सामाजिक सद्भाव’ कार्यक्रममा उपस्थित दुवै गाउँका पाँच सय जतिले आफ्नो संस्कृति झल्कने पोसाक लगाएर झाँकीसहित दिनभरि रमाइलो गरे । दुवै गाउँलाई जोड्ने काम सामाजिक संघसंस्थाको पहलमा सम्भव भएको हो । ६० वर्षका अकुब मियाले दुवै गाउँका स्थानीय एकै ठाउँमा भेला भएर बिनारिसराग एक–अर्कामा माया दर्शाउँदै नाचगानमा व्यस्त भएको देखेपछि मन थाम्न सकेनन् । उनी पनि लाठी नाचसँगै सायरी हाल्न अघि सरे । मिलेर शान्तिसँग बस्दा नै सबैको भलो हुने देखेपछि आफू पनि कार्यक्रममा सहभागी भएको उनले बताए । ‘क्षणिक आवेशलाई इखमा परिणत गर्दाको परिणाम सबैले भोगिसके ।’ ५० वर्षका जवाहरलाल साह अहिले पनि भन्सियामाई खेलमैदान नजिक रहेको पसल तीन महिना बन्द गरेर ज्यान जोगाएको स्मरण गर्छन् । बालविकास केन्द्रको भवनमा चौकी स्थापना भएपछि उनी फर्किएर पसल चलाउन थाले । तर मनभित्र रहेको त्रास भने मरिसकेको थिएन । पसलमा पल्लो गाउँका छिमेकी डरले आउनै छाडे । दुई गाउँका बीच सद्भाव फर्किएपछि भावनात्मक रूपमा नजिकिन थालेको उनले बताए । रणभूमि बनेको खेलमैदान सद्भाव भूमि बनेपछि नाचगानमा रमाइरहेको उनले भने, ‘आज खुसीको दिन हो, हामी सबै नाचिरहेका छौं ।’ मोहम्मद महफुजले मर्दापर्दा पहिले जस्तै सहयोग आदानप्रदान हुन थालेको बताए । दुवै समूहका स्थानीयका बीचमा अहिले बोलचाल र आउजाउ हुन थालेको छ । पहिले एकले अर्कालाई देख्दा तर्सन्थे । अहिले सहयोगी बनेका छन् । स्थानीय चन्द्रकुमार सिंहले नाचगानले आफूहरूलाई जोडेको बताए ।
प्रदेश समाचार
एउटै मञ्चबाट प्रवचन
- कान्तिपुर संवाददाता
जोरपोखरी, पाँचथर (कास)– धार्मिक सहिष्णुता र सहअस्तित्वका लागि जिल्लाको जोरपोखरीमा आयोजित बहुधार्मिक सम्मेलनमा चार धर्मका ८ जना गुरुले एउटै मञ्चबाट प्रवचन दिएका छन् । हिन्दु, बौद्ध, किरात र इसाई धर्मका गुरुले मुलुक धर्मनिरपेक्ष राष्ट्र भएकाले सबै धर्म समान रहेको सन्देश दिएका छन् । तीन दिनसम्म आयोजित सम्मेलनमा उनीहरूले विविध धर्म अपनाउने सबै समुदाय समान रहेको सन्देश दिइरहे । उनीहरूले संविधानमा धर्मनिरपेक्ष राष्ट्र उल्लेख भइसकेकाले मौजुदा कानुनमा सोही बमोजिम संशोधन जरुरी रहेको समेत बताए । मुलुकी ऐनलगायत कतिपय ऐन मूल कानुनसँग मेल नखाने भएकाले संशोधन आवश्यक रहेको औंल्याए । बहुधार्मिक सम्मेलनमा हिन्दु धर्मगुरु डा. पूण्यप्रसाद पौडेल, किरातका डा. चन्द्रकुमार सेर्मा, बौद्धका लामा तेन्जी शेर्पा र क्रिश्चियन धर्म गुरु पास्टर एनडी थुलुङले पालैपालो एउटै मञ्चबाट प्रवचन दिएका हुन् । विभिन्न धार्मिक आस्थामा बस्दै आएका समुदायका बीचमा एकता, सहअस्तित्व, भ्रातृत्व र धार्मिक सहिष्णुताका निम्ति सम्मेलनले सकारात्मक वातावरण सिर्जना गरेको जिल्ला समन्वय समितिका प्रमुख विमल सापकोटाले बताए । गैरसरकारी संस्था महासंघका अध्यक्ष बालकृष्ण ओझाले धार्मिक आस्थाका कारण विभिन्न मुलुकमा बेलाबेला धार्मिक द्वन्द्वले हिंसात्मक रूप लिने गरेको स्मरण गर्दै यस्ता कार्यक्रमले धार्मिक द्वन्द्व न्यूनीकरण गर्ने बताए । उनी आयोजक संस्था नवनेपाल जनउद्धार संघका अध्यक्षसमेत हुन् । ‘विभिन्न जातजाति भाषाभाषी र धर्मावलम्बीको बसोबास रहेको पाँचथरमा जातजातिका बीचमा धार्मिक सहिष्णुता कायम राख्दै सामाजिक एकतालाई निरन्तरता दिन सम्मेलनले सकारात्मक प्रभाव पारेको छ,’ उनले भने । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको संयुक्त धार्मिक केन्द्र रहेको जोरपोखरीमा लिम्बू, तामाङ, शेर्पा भाषा र कर्मकाण्डको पठनपाठनसमेत हुँदै आएको छ । सम्मेलनमा पूर्व र वर्तमान जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।
प्रदेश समाचार
धरानमा बढ्दै साइकल मोह
- प्रदीप मेन्याङ्बो
धरान – दिलीप रिनोहोङले वातावरणमैत्री साइकल कुदाउन थालेको पाँच वर्ष भयो । पहिलेपहिले मोटरसाइकल र कार मात्र कुदाउने गरेका रिनोहङ अचेल सबैलाई साइकल कुदाउन सुझाव दिन्छन् । यसको उद्देश्य व्यक्तिगत स्वास्थ्यसँगै धरानलाई प्रदूषणमुक्त सहर बनाउन र अरूलाई प्रेरित गर्नु हो । उनी दैनिक ८ देखि १२ किलोमिटर साइकल यात्रा गर्छन् । उनीसँगै यात्रामा प्रियस गुरागाईं, राजेश शाक्य, विजय श्रेष्ठ, गोविन मास्के, फरेन लिम्बू, देवेन्द्र थेगिम, राजन लिम्बू, अभिषेक राई, सन्तोष थेगिमलगायत सहभागी हुन्छन् । स्वस्थ धरान र स्वस्थ जीवनको परिकल्पना गर्दै प्रदूषणमुक्त सहरका रूपमा स्थापित गर्न युवा साइक्लिङ गन्तव्यका रूपमा विभिन्न रमणीय स्थानको खोजीमा जुटेका छन् । रिनोहोङ हरेक बुद्धजयन्तीको अवसरमा काठमाडौंबाट आयोजना हुने टुर डी लुम्बिनी इभेन्टमा धरानबाट प्रतिनिधित्व गर्छन् । उनले भने, ‘कतिपयलाई लाग्ला यी केटाहरूले देखावटी गरिरहेका छन् साइकल कुदाएर तर यसको मज्जा अर्कै छ । साइकल कुदाउँदा सम्बन्धित व्यक्तिलाई त फाइदा हुने नै भयो, मोटरसाइकल र कार नकुदाउँदा पेट्रोलियम पदार्थबाट निस्कने हानिकारक सिसा, धूवाँ, धूलोमा केही न केही कमी आउँछ ।’धरानमा आधा दर्जन साइक्लिङ क्लब छन् । धरान साइकिलिङ क्लब, साइक्लिङ धरान, स्ट्रिम धरान लगायत छन् । यहाँ साइक्लिङ गर्न आधा दर्जन रुट पहिचान भएको छ । तीमध्ये धरानबाट चारकोशे जंगल सफारी, अमाहा हुँदै बक्लौरीको राष्ट्रिय सम्मानित इमानसिंह चेम्जोङ प्रतिष्ठान ताल, चारकोशेको फायर लाइन हुँदै धरान दक्षिणको हरियाली सामुदायिक वन, धरानदेखि कोसी टप्पु, धरानदेखि भेडेटार, नाम्जे हुँदै शिखरवास ओरालो, फेरि धरान, धरान देखि बुढासुब्बा हुँदै झोलुंगेपुल तरेर वसन्तटार, बगरकोटलगायत छन् ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको साइक्लिङ प्रतियोगिता गर्दै आएका यहाँका युवा साइकल यात्रालाई प्रोत्साहन गर्न पूर्व–पश्चिम तथा उत्तर–दक्षिणका पहाड र तराई क्षेत्रका विभिन्न स्थान पुग्छन् । काठमाडांै, पोखरा, बुटवललगायतबाट साइकलप्रेमी बेलाबेला धरान आउने गरेका छन् । ती पाहुना साइकलप्रेमीलाई रिनोहोङको समूहले गाइड गर्ने गरेको छ । उनीहरूले हालै नयाँ रुट पहिचान गरेका छन् ।
धरानलाई साइकल सिटी बनाउन आफूहरू प्रयासरत रहेको अर्का साइकलप्रेमी देवेन्द्र थेगिमले बताए । लुम्बिनीसम्म साइकल यात्रा गरेका उनले भने, ‘साइकल कुदाउनु भनेको सहरलाई वातावरणमैत्री बनाउनु हो । धेरै युवाहरू मोटरसाइकल कुदाउन रुची देखाउँछन् । मोटरसाइकल र कारमा यात्रा गर्दाको महत्त्व आफ्नै होला तर साइकल यात्राको महत्त्व प्रकृति र वातावरण संरक्षणसँग जोडिन्छ ।’धरानमा साइकल यात्राको रुट आफंै बनाएर साइकल पर्यटनमा जोड दिने पहिलो व्यक्ति फरेन लिम्बू हुन् । बढ्दो जनघनत्व, सवारी चाप, साँघुरो सडकमा साइकल एक मात्र विकल्प रहेको उनले बताए । ‘नयाँ पुस्तालाई साइकल यात्राप्रति जागरुक बनाउन प्रेरित गर्दैछौं । सुनसरी साइक्लिङ एसोसिएसनले पनि युवायुवतीलाई साइकल यात्रा गर्न प्रेरित गर्दै आएको छ,’ लिम्बूले भने । सहरभित्र छोटो दूरीमा जान पनि मोटरसाइकल कुदाउनेमध्ये आधाले मात्र साइकल चलाए वातावरणमा धेरै परिवर्तन आउने र दुर्घटनामा पनि कम हुने उनले बताए ।
प्रदेश समाचार
गढीमाईमा ‘दलित’ पुजारी
- कान्तिपुर संवाददाता
बारा (कास)– अहिले पनि मुलुकका अधिकांश ठाउँमा दलितलाई मन्दिर प्रवेशमा रोक लगाइन्छ । पानी र खानेकुरा छोएको निहुँमा कुटपिट र दुव्र्यवहार हुन्छ । बारागढी गाउँपालिका–२ दौर्वाको अवस्था भने भिन्न छ । यहाँको गढीमाई मन्दिरमा एक दलित दम्पती वर्षौंदेखि पुजारी छन् । उनैबाट दर्शनार्थी टीका थाप्छन् । आशीर्वाद लिन्छन् । अकलु पासवान र उनकी ४५ वर्षीया पत्नी रुकमिणी पाँच वर्षदेखि त्यहाँ पुजारी छन् । सुरुमा अकलु र पछि रुकमिणीसमेत पुजारी भएकी हुन् । गाउँलेको सहयोगमा चन्दा संकलन गरी गढीमाई मन्दिर स्थापना गरिएको छ । गाउँका सबैले यो दम्पतीलाई माया र सम्मान गर्छन् । कुनै जातीय भेदभाव र छुवाछूत छैन । ‘यो सामाजिक सद्भावको उदाहरणीय र सन्देशमूलक काम हो,’ स्थानीय समाजसेवी रामप्रवेश जयसवालले भने ।
प्रदेश समाचार
राजधानीमा बसेर ‘बिटकोइन’ धन्दा
- कान्तिपुर संवाददाता
दोलखा (कास)– लघुजलविद्युत् आयोजनाको थ्री फेज लाइनमार्फत एउटा गाउँको सानो झुप्रोले मासिक सरदर २५ हजार रुपैयाँ शुल्क तिर्दा छिमेकी झस्किन्थे । दोलखाको किर्नेटारमा झन्डै डेढ लाख लगानीमा बनेको उक्त झुप्रोभित्र प्रयोग भएको बिजुलीको रकम काठमाडौंका प्रशान्तप्रताप शाहले भुक्तानी गर्थे । ५ महिनामा २५ हजार युनिट बिजुली खपत गरिसकेपछि प्रहरीले अनुसन्धान थाल्यो । त्यतिन्जेल शाहले ‘बिटक्वाइन’ को अवैध धन्दामार्फत १५ लाख डलरको कारोबार गरिसकेका थिए । अमेरिकाबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेर फर्किएका २३ वर्षीय शाह आफू राजधानीमा बसेर किर्नेटारमा जडित सर्भरमार्फत धन्दा गर्थे । उनले पाँच महिनामा १५ लाख अमेरिकी डलर बराबरको अवैध कारोबार गरेको जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले बताए । राष्ट्र बैंकले प्रतिबन्धित गरेको बिटक्वाइनको कारोबार भएको खुल्नेबित्तिकै शाह र कारोबारस्थलका सामग्री नियन्त्रणमा लिइएको उनले जानकारी दिए । ग्रामीण बस्तीमा नेटवर्क स्थापना गरी अन्तर्राष्ट्रियस्तरमा बिटक्वाइनमार्फत अवैध धन्दा गरिरहेको खुलेपछि नेपालमा नौलो खालको अपराध सार्वजनिक भएको छ । बिटक्वाइन इन्टरनेटमार्फत उत्पन्न गणितीय कोडमा निर्भर मुद्रा हो । यसलाई कम्प्युटर कोडमार्फत बोलकबोल गरी कारोबार गरिन्छ । यो धन्दामा बिटक्वाइनलाई सुन, डलर वा युरोभन्दा मूल्यवान मानेर अवैध कारोबार चलाइने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । बिटक्वाइनलाई अन्तर्राष्ट्रियस्तरमा पनि आधिकारिक मुद्रा मानिंदैन ।शाहले माइनिङ डिभाइससहित उपकरण जडानका लागि टहरा बनाउन १ लाख ५० हजार खर्चिएका थिए । जग्गा र उक्त क्षेत्र हेरचाहका लागि प्रतिमहिना १५ हजार भाडा दिन्थे । अवैध केन्द्रलाई शाहले काठमाडौंबाटै इन्टरनेटमार्फत निगरानी गर्थे । उनले हुन्डी वा बैंकको स्वरूपमा अदृश्य रूपमा आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुलेको छ ।खिम्ती ग्रामीण सहकारीले दोलखाको किर्नेटार क्षेत्रका करिब ८ हजार घरमा कहिल्यै लोडसेडिङ हुन दिँदैन । प्रतियुनिट बिजुलीको ५ रुपैयाँ छ । त्यसैले पनि शाहले किर्नेटार क्षेत्र रोजेको हुन सक्ने प्रहरीको अनुमान छ ।
अर्थ वाणिज्य
निक्षेपभन्दा कर्जा वृद्धि उच्च
- कान्तिपुर संवाददाता
काठमाडौं– पछिल्ला दुई महिनायता बैंक तथा वित्तीय संस्थामा निक्षेपभन्दा कर्जाको वृद्धिदर उच्च देखिएको छ । तरलता अवस्था सहज भएसँगै बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाहमा जोड दिन थालेपछि कर्जाको वृद्धिदर निक्षेपको भन्दा बढी भएको हो । गत साउनमा निक्षेपको वृद्धिदर कर्जाको भन्दा बढी थियो । भदौदेखि कर्जाको वृद्धिले निक्षेपलाई उछिन्न थालेको हो । त्यो क्रम असोज मसान्तसम्म पनि जारी छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउनमा निक्षेप ०.८८ प्रतिशतले बढदा कर्जा ०.१८ प्रतिशतले घटेको थियो । तर, भदौमा निक्षेप १.०१ प्रतिशतले बढदा कर्जा वृद्धिदर १.८२ प्रतिशत रहयो । यसैगरी असोजमा निक्षेप वृद्धिदरमा कमी आएर ०.६९ प्रतिशतमा सीमित रहयो । सोही अवधिमा कर्जा तथा लगानी १.३२ प्रतिशतले बढयो । असोज अन्तिम साता वाणिज्य बैंकहरूमा ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । सोही साता बैंकहरूले ९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । यसले पनि बैंकहरूमा निक्षेपभन्दा कर्जाको वृद्धिदर बढी रहेको पुष्टि हुन्छ । यस्तो प्रवृत्ति बढदै गएमा वित्तीय असन्तुलन हुने भएकाले वित्तीय प्रणालीमा समस्या आउन सक्ने जानकारहरू बताउँछन् । गत आर्थिक वर्षमा निक्षेप संकलनभन्दा कर्जा विस्तार दर उच्च भएपछि वित्तीय असन्तुलनको अवस्था आएको थियो । यसको प्रत्यक्ष असर बैंक ब्याजदरमा देखियो । झन्डै ६ महिनासम्म कर्जा तथा निक्षेपको ब्याजदरमा ठूलो उतारचढाव आयो । चालु आर्थिक वर्षको सुरुवातसँगै वित्तीय प्रणाली विस्तारै सन्तुलनको अवस्थामा आउन थालेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए । थापाका अनुसार हाल वित्तीय प्रणालीमा ५० अर्ब रुपैयाँभन्दा बढी अधिक तरलता छ । अधिक तरलता भएकै कारण आन्तरिक ऋण तथा विभिन्न औजारमार्फत बजारबाट ठूलो रकम झिकिएको थापाले बताए । ‘चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइएको छ,’ थापाले भने, ‘रिभर्स रिपोलगायत अन्य औजारमार्फत पनि राष्ट्र बैंकले बजारबाट पैसा झिकिरहेको छ ।’ तरलता बढेपछि वित्तीय प्रणाली सहज अवस्थामा भएकाले ब्याजदर घट्न थालेको उनको भनाइ छ । ‘विगतमा ब्याजदरमा उच्च उतारचढाव देखिएको थियो, त्यो अवस्थामा बिस्तारै सुधार आउँदै छ,’ उनले भने, ‘यो सुधारले आउँदा दिनमा ब्याजदर घट्ने देखाउँछ, त्यसको सुरुवात भइसकेको छ ।’
विगतमा तरलताको समस्या देखाउँदै अटो (सवारी), रियल स्टेट, सेयरलगायत क्षेत्रमा कर्जा रोकेका बैंक तथा वित्तीय संस्थाले अहिले सार्वजनिक सूचनामार्फत ऋण लिन आहवान गरिरहेका छन् । यसले पनि वित्तीय प्रणाली तरलता अवस्था सहज रहेको स्पष्ट हुने विज्ञहरूको भनाइ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास (तीन महिना) को तथ्यांक हेर्दा निक्षेप संकलनभन्दा कर्जा विस्तार उच्च रहेको छ । तीन महिनामा वाणिज्य बैंकहरूमा ५४ अर्ब रुपैयाँ निक्षेप संकलन भएकामा ५१ ऋण रुपैयाँ कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ । असोज २७ सम्म वाणिज्य बैंकहरूमा २१ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । सोही अवधिमा बैंकहरूको कर्जा तथा सापटी १७ खर्ब ८७ अर्ब रुपैयाँ छ । बैंकर्स संघका कार्यकारी सदस्य भुवन दाहालका अनुसार पनि बैंकहरूमा तरलता अवस्था सहज छ । पछिल्ला महिनाहरूमा ब्याजदर घटदै जानु पनि त्यसकै उपज भएको दाहालले बताए । ‘आउँदा दिनहरूमा ब्याजदरमा अझै कमी आउन सक्छ,’ उनले भने, ‘बैंकहरूले आधार दरसँग ब्याजदर समायोजन गर्नुपर्ने भएकाले विगतका वर्षहरूमा जस्तो निकै तल आउने सम्भावना भने छैन ।’
अर्थ वाणिज्य
तिहारलाई ३० करोडको फलफूल आयात
- राजु चौधरी
काठमाडौं– तिहारलाई लक्षित गरी फलफूल थोक व्यवसायी संघले करिब ३० करोड रुपैयाँको फलफूल आयात गरेको छ । व्यवसायीहरूले स्याउ र केरासहित विभिन्न फलफूल झन्डै ३० अर्ब रुपैयाँँ बराबरको आयात गरेका हुन् । यसमध्ये केही आयात भइसकेका र केही आउने क्रममा रहेको संघले जनाएको छ । संघका महासचिव विनोद पाण्डेका अनुसार चीन र भारत गरी १ सय ८० ट्रक स्याउ आयात भइरहेको छ । एक ट्रकमा १० टन स्याउ हुन्छ । जसअनुसार तिहारलाई लक्षित गरी १८ सय टन (प्रतिकिलो १ सय २० रुपैयाँँको दरले २१ करोड ६० लाख रुपैयाँँको) स्याउ आयात भएको जनाएको छ । स्याउ मुख्यत: तिहारमा बिक्री हुन्छ । मुलुकभित्र पर्याप्त मात्रामा उत्पान नहुनु, फाट्टफुट्ट उत्पादन भएपनि व्यावसायिक रूपमा बजारको पहुँचसम्म नहुनुने फलफूलमा चीन र भारतकै भर पर्नुपरेको छ । ‘नेपालमा मुस्ताङ, हुम्ला र मुगुमा उत्पादन भए पनि उपत्यकामा नगन्य रूपमा भित्रिन्छ,’ पाण्डेले भने, ‘माग पूर्ति गर्न चीन र भारतकै भर पर्नुपर्छ ।’उनका अनुसार चीनबाट १ सय ५० ट्रक र भारतबाट ३० ट्रक स्याउ आयात भएको छ । असोज २९ गतेदेखि दैनिक २५/३० ट्रक भित्रिएको छ । पाण्डेका अनुसार १८ सय टन लक्ष्मीपूजाको दिनसम्म आयात भई टीकाको दिनसम्म सबै बिक्री हुन्छ । ‘असोज २९ गतेबाट आयात सुरु गरेका छौं । कात्तिक २ गते लक्ष्मीपूजाको दिनसम्म स्याउ आइपुग्छ भन्ने हो । केही बाटैमा छ,’ उनले भने, ‘आयतित स्याउ भाइटीकाको दिनसम्मा सकिन्छ ।’आयातित स्याउ बल्खुबाट व्यवसायीले खरिद गरी मुलुकभरि खुद्रा मूल्यमा बिक्री गरिन्छ । संघका अनुसार तिहारसँगै होलसेल बजारमा करिब ६० प्रतिशतले माग बढेको छ । माग बढेसँगै आयात पनि बढाएको उनले बताए । ‘सामान्य दिनमा दैनिक ५/६ ट्रक स्याउ आयात हुन्छ । अहिले दैनिक २५/३० ट्रक भित्र्याएका छौं,’ उनले भने । तिहारलगत्तै छठ पर्व सुरु हुन्छ । त्यस बेला पनि माग वृद्धि हुने संघले जनाएको छ । तिहारमा स्याउसँगै केराको माग पनि उत्तिकै बढ्छ । संघले केरा भारतबाट आयात गर्ने गरेको छ । तिहारका लागि भारतबाट मात्रै १ सय ५० ट्रक (१५ सय टन) केरा आयात भएको पाण्डेले बताए । एक दर्जनको ६० रुपैयाँँको दरले ९ करोड रुपैयाँँको आयात हुने जनाएको छ ।
होलसेल व्यवसायीले पनि तिहारको अवसरमा व्यापारमा धेरै सुधार भएको बताउँछन् । ‘दसैंमा व्यापार सन्तोषजनक थियो,’ बल्खु फलफूल बजारका व्यवसायी मीनप्रसाद गौतमले भने, ‘तिहारमा धेरै राम्रो भएको छ ।’ स्याउहरू समयमै आएकाले पनि व्यापार बढेको उनको भनाइ छ । सुन्तला, मौसम र मुख्यत: स्याउको व्यापार हवात्तै बढेको उनले बताए । अर्का होलसेल व्यवसायी रामचन्द्र कार्कीको भनाइ पनि उस्तै छ । उनले सामान्य दिनको तुलनामा दोब्बर नै बिक्री भएको बताए । ‘अन्य दिनमा दैनिक ५ सय कार्टुन बिक्री हुने स्याउ अहिले १ हजार कार्टुन नाघेको छ,’ उनले भने । बल्खु फलफूल बजारमा करिब ४ सय व्यवसायी छन् । बल्खु फलफूल बजारसँगै कालिमाटी तरकारी बजारको व्यापार पनि उत्साहजक रूपमा वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपसचिव एवं सूचना अधिकारी विनय श्रेष्ठले फलफूलको कारोबार दोब्बर नै भएको बताए । ‘यहाँका व्यवसायीहरूले बल्खु फलफूल बजारबाट ल्याएर बिक्री गर्छन्,’ उनले भने, ‘सामान्य दिनको तुलनामा कारोबार धेरै बढेको छ ।’
कालिमाटी तरकारी बजारका होलसेल व्यापारी भरत खनालले दैनिक ७०० कार्टुन स्याउ बिक्री भएको बताए । ‘स्याउ मुख्यत: तिहारमै बिक्री हुन्छ,’ उनले भने, ‘सामान्य दिनमा १ सय कार्टुन बिक्री हुने स्याउ अहिले ६/७ सय कार्टुन पुगेको छ ।’ संघका अनुसार अघिल्लो वर्षको तुलनामा फलफूलको मूल्य सस्तो भएको छ । गत वर्ष प्रतिकिलो ९० देखि १ सय रुपैयाँँ (होलसेल मूल्य) पर्ने मिठो स्याउको मूल्य ८० देखि ९० रुपैयाँँ पर्छ । फुजी स्याउको मूल्य पनि प्रतिकिलो २५ रुपैयाँँ घटेको संघको दाबी छ । ‘गत वर्षको तिहारमा प्रतिकिलो २ सय ५० रुपैयाँँ पर्ने फुजी स्याउ अहिले २ सय २५ रुपैयाँमै किन्न पाइन्छ,’ संघका महासचिव पाण्डेले भने । चकलेट स्याउको मूल्य भने यथावत् रहेको संघले जनाएको छ । संघका अनुसार अघिल्लो वर्ष चकलेट स्याउको मूल्य (गुणस्तर अनुसार) १ सयदेखि १ सय ३० रुपैयाँँ थियो । अहिले पनि सोही मूल्यमा कारोबार भएको संघको दाबी छ । मूल्य सस्तिएको दाबी संघले गरे पनि यसको प्रत्यक्ष अनुभव उपभोक्ताले गर्न पाएका छैनन् । अघिल्लो वर्षको तुलनामा झन महँगो भएको प्रतिक्रिया फलफूल पसलमा भेटिएको उपभोक्ताको छ ।मुस्ताङको स्याउ भने होलसेल मूल्यमै प्रतिकिलो १ सय ४० रुपैयाँँदेखि १ सय ५० रुपैयाँँसम्मा बिक्री भइरहेको संघले जनाएको छ । ‘मनाङ, मुस्ताङको स्याउको माग अधिक छ,’ उनले भने, ‘नगन्य रूपमा २/३ प्रतिशत मात्रै उपत्यका भित्रिन्छ ।’ व्यवसायीका अनुसार सडकका कारण स्वदेशी स्याउको बजारीकरण हुन सकेको छैन ।
अर्थ वाणिज्य
ढाका कपडालाई तिहारको भर
- कान्तिपुर संवाददाता
गोरखा (कास)– सदरमुकामको पुरानो बजारमा यतिबेला ढाका कपडाको कारोबार बढेको छ । वर्षका अरू बेलाभन्दा तिहारमा बढी कारोबार हुने भएकाले भीड पनि बढेको छ । ढाका कपडाको माग बढेसँगै यहाँ उद्योगहरू पनि बढेका छन् । यहाँको ठूलो आँगनमा गृहिणीहरूले ढाका उद्योग सञ्चालन गरेका छन् । उनीहरू ढाकाको तानमा अचेल व्यस्त भेटिन्छन् । ०६७ मा महिलाहरूले तालिम लिएर सुरु गरेको उद्योग फस्टाएर पुरानो बजार क्षेत्रमा यतिबेला घरैपिच्छे जस्तो ढाका उद्योग र पसल छन् । यसअघि पुरानो बजारमा ग्राहकको आउजाउ शून्यजस्तो बनेको थियो । पहिलोपटक यहाँका १२ महिलाले ढाका बुनाइको तीनमहिने तालिम लिएका थिए । तालिम लिनेमध्ये सुरुमा रूपा गुरुङले उद्योग र पसल खोलिन् । ‘२० हजार लगानीमा पहिलोचोटि मैले उद्योग खोलेकी थिएँ,’ उनले भनिन्, ‘अहिले त एकै ठाउँमा नौवटा उद्योग र त्यत्तिकै संख्यामा पसल खुलिसकेको छन् ।’ उनको उद्योगमा लगानी सात लाखको पुगेको छ । सदरमुकाममा सञ्चालित उद्योगहरू गोरखा संग्रहालय नजिकै छन् । अधिकांश सामग्री पर्यटकले किन्ने गरेकाले उद्यमी उत्साहित छन् । ‘सबैका पसल र उद्योगको हिसाब गरियो भने ढाकाकै लागि लगानी करोड नाघ्छ होला,’ उनले भनिन्, ‘हाम्रा उत्पादन विदेश पनि पुगेका छन् ।’ मागअनुसार उत्पादन गर्न नसकेको उनले बताइन् । ढाकाका सामग्री काठमाडौं र पोखरासँगै कोरिया, बेलायत, अमेरिका र जापानसम्म पुग्ने गरेको छ । घरेलु उद्योगका रूपमा सञ्चालन गर्ने महिलालाई तालिम र अनुदानमा तान दिने गरेको घरेलु कार्यालयले जनाएको छ । उद्योग वाणिज्य संघ गोरखाले स्थापना गरेको कोसेली घरमा पनि महिला उद्यमीका ढाका सामग्री राख्ने गरिएको छ । ‘सल, झोला, टोपी, रुमाल, दौरासुरुवाल सबैभन्दा बढी बिक्छ,’ उद्यमी गंगा थापाले भनिन्, ‘पर्यटकले कोसेलीका रूपमा लैजाने गरेका छन् ।’ आफूले २१ हजारबाट सुरु गरेको उद्योगमा लगानी ७ लाख नाघेको उनले बताइन् । ‘थप लगानीको अनुपातमा आम्दानी पनि बढेको छ । गुणस्तरीय चिजको दाम रामै्र आउँछ,’ उनले भनिन्, ‘तालिम लिएर उद्योग पसल खोल्न चाहने महिलाहरू धेरै भइसके ।’ महिलाले घरमै उद्योग र पसल सञ्चालन गरेका छन् । घरमै बसिबसी गर्न सकिने उद्यम भएकाले महिलाहरू यो काममा आकर्षित भएको उनले बताइन् । घरेलु उद्योग, जिल्ला समन्वय समिति, गैरसरकारी संघसंस्था र उद्योग वाणिज्य संघले तालिम दिएर महिलाहरूलाई उद्योग सञ्चालन गर्न सघाएका छन् । गोरखामा हाल सञ्चालित ढाका उद्योगमा तीन दर्जन हाराहारी महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् । सबैजसो उद्यमीले हाते तानबाट ढाका बुन्ने भएकाले उत्पादनलाई गुणस्तरीय मान्दै ग्राहकको रोजाइमा परेका छन् ।
अर्थ वाणिज्य
दुई जलविद्युत् अन्तिम चरणमा
- शाहीमान राई
पाँचथर– यहाँ निर्माणाधीन दुई वटा ठूला जलविद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आउँदो मंसिरदेखि विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । याङवरक र ताप्लेजुङ सिदिङवा गाउँपालिकाको सिमावर्ती कावेली खोलाबाट २५ मेगावाटको काबेली ‘बि–१’ जलबिद्युत आयोजना र फिदिम नगरपालिका र हिलिहाङ गाउापालिकाको भारपाको सिमाना हेवाखोलाबाट २१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजना अन्तिम चरणको निर्माण कार्य भइरहेको प्रवद्र्धक कम्पनीले जनाएका छन् । अरुण कावेली इनर्जी लिमिटेडको चार अर्व रुपैंयाँ लगानीमा दुई वर्षदेखि निर्माणाधीन कावेली ‘बी–१’ जलविद्युत् आयोजनाको ९० प्रतिशत निर्माण कार्य पूरा भइसकेको आयोजना प्रमूख इन्जिनियर हस्तमान राईले बताए । कावेली र इवाखोला दोभानमा बाँध निर्माण गरी याङवरक गाउँपालिकाको थर्पूदेखि हिलिहाङ गाउँपालिकाको नागीमा पर्ने मेची राजमार्गको गणेशचोकदेखि ८ किलोमिटर तल दाहालगाउँको पिपलटारसम्म ५ किलोमिटर पेन्सटक (फालामे) पाइपलाइन विस्तार, विद्युत्गृह निर्माण भइसकेको छ । विद्युत् गृहमा टर्वाइन, जेनेरेटर, गवर्नर लगायत आवश्वयक उपकरण जडान पूरा भएपछि विद्युत् उत्पादन सुरु हुने राईले बताए । हिलिहाङ गाउँपालिकाको भारपा र फिदिम नगरपालिकाको सिमाना हेवा खोलाबाट निर्माणाधीन २१ किलोवाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाले ८० प्रतिशत निर्माण कार्य पूरा गरेको जनाएको छ । गत साउनमा हेवाखोला र फेमेखोलाबाट आएको बाढी आयोजनाको सुरुङभित्र प्रवेश गरेर आयोजनाको उपकरणसहित सर्बसाधारणको खेतबारी बगाएपछि निर्माण कार्यमा बाधा भएकोले केही समय ढिलो हुने सम्भावना रहेको आयोजनाका जनसम्पर्क अधिकृत श्याम अधिकारीले बताए ।
माउन्टेन हाइड्रोनेपाल प्रालिद्वारा प्रवद्र्धित चार अर्व रुपैयाँ लगानीमा निर्माणाधीन हेवाखोला जलविद्युत् आयोजनाले ५ हजार ४ सय मिटर सुरुङमार्ग, मुहानमा बााध र विद्युत्गृह निर्माण गरिसकेको कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक सिताराम तिमिल्सिनाले बताए । हेवाखोला जलविद्युत् आयोजनाले विद्युत् गृहमा टर्वाइन, जेनेरेटर, गवर्नर, उपकरण जडान लगायत अन्तिम चरणको निर्माण कार्य भइरहेको जनाएको छ । यी दुइवटा आयोजना पूरा भएपछि पााचथरमा निजी क्षेत्रबाट विद्युत् उतपादन क्षमता ६२ मेगावाट पुग्ने छ । पाँचथर पावर कम्पनीले गतवर्ष फागुनदेखि १५ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजना संचालनमा ल्याएको छ । यसअघि याङनाम र नाङगीनको सीमा फेमेखोलाबाट विके हाइड्रो्पावर कम्पनीले ९ सय ९५ किलोवाट क्षमताको जलविद्युत् उत्पादन गरी उपभोक्तालाई वितरण गरिसकेको छ । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले सबैभन्दा पहिले ०३८ मा दुई वटा साना जलविद्युत् आयोजनाबाट करिब २ सय ५० किलोवाट क्षमताको विद्युत् उत्पादन गरी सदरमुकाम फिदिम बजारमा वितरण गरेको थियो ।
पााचथरमा नवनिर्मित विद्युत् आयोजनाहरू संचालनमा आएपनि निर्माणाधीन १३२ केभि कावेली करिडोर प्रशारण आयोजना पूरा नभएसम्म राष्ट्रिय प्रशारणलाइनमा समावेश गर्न सकिदैन ।पाँचथरमा विद्युत् प्राधिकरणले ३३ केभि प्रशारण लाइन मात्र विस्तार गरेको छ । कावेली करिडोर १३२ केभि प्रशारण लाइन आयोजना पूरा नभएसम्म निजी क्षेत्रकाट उत्पादित तल्लो हेवाखोला र कावेली बी–१ जलविद्युत् अयाोजना खेर जाने छन् । आउदो माघमा ताप्लेजुङ र पाँचथरको सीमा इवाखोलाबाट समेत अर्को रैराङ हाइड्रोपावर कम्पनीले ९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आउदो माघमा निर्माण पूरा गर्ने जनाएको छ । इवाखोला जलविद्युत् आयोजना ६० प्रतिशत निर्माण पूरा भइसकेको प्रवन्ध निर्देशक कुवेरमणि नेपालले बताए ।
अर्थ वाणिज्य
प्रभावकारी कार्यान्वयन हुन्छ : श्रममन्त्री
नेपाल–जोर्डन श्रम सम्झौता
- होम कार्की
काठमाडौं– श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले जोर्डनसँग भएको श्रम सम्झौता प्रभावकारी र दृढताका साथ कार्यान्वयन गर्न दुवै सरकार अग्रसर हुने बताएका छन् । ‘श्रमिक मैत्री कानुन रहेको जोर्डनले अन्तर्राष्ट्रिय श्रम संगठनले बनाएको मार्गचित्रलाई आत्मसात् गरेको छ,’ मन्त्री मन्सुरले कान्तिपुरसँग टेलिफोनमा भने, ‘यो सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन हुनेमा म ढुक्क छु ।’नेपाल र जोर्डनबीच बुधबार श्रम सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतामा श्रममन्त्री मन्सुर र उनका जोर्डनी समकक्षी अलीअली गेजावीले हस्ताक्षर गरेका थिए । मन्त्री मन्सुरका अनुसार नेपाली कामदारलाई प्राथमिकता दिन जोर्डन तयार भएको छ । ‘जोर्डन नेपाली कामदारबाट प्रभावित छ । सम्झौताले अब कामदार ल्याउने ढोका खोलेको छ’, जोर्डनी समकक्षी गेजावीको भनाइ उद्धृत गर्दै मन्सुरले भने, ‘हामी सम्झौतालाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्धता जनाउँछौं ।’ मन्सुरले जोर्डनमा कार्यरत नेपाली कामदार सन्तुष्ट रहेको दाबी पनि गरे । ‘श्रम सम्झौता गरेलगत्तै झन्डै १५ सय नेपाली महिला कामदार कार्यरत क्लासिकल गार्मेन्ट उद्योगमा गएँ । उनीहरूसँग अन्तरक्रिया पनि गरें,’ उनले भने, ‘उनीहरू आफ्नो कामप्रति सन्तुष्ट छन् । आवास चित्तबुझ्दो देखियो । क्याम्पमै मेडिकल डाक्टर राखिएको रहेछ । दिनमा चार पटक खाना र खाजाको प्रबन्ध छ ।’ लाखौं कामदारको माग रहेको जोर्डन नेपाली महिला कामदारका लागि प्रमुख गन्तव्य बन्न सक्ने उनले बताए । क्लासिक गार्मेन्टमा मात्रै २२ हजार विदेशी कामदार छन् ।
शून्य लागतको गन्तव्य
मन्त्री मन्सुरले श्रम सम्झौतापछि कामदार शून्य लागतमा जोर्डन जान पाउने बताएका छन । ‘कामदारको लागत खर्च रोजगारदाताको जिम्मेवारीमा पर्छ,’ उनले भने, ‘तलब भने कामदार र रोजगारदाताबीच तय हुन्छ । त्यसलाई कार्यान्वयन गर्न हामी सहयोग गर्नेछौं ।’ उनका अनुसार श्रम सम्झौताले कामदारको सेवा, सुविधाको ग्यारेन्टी गर्नुका साथै कामदारको हित र हकको पक्षमा प्रस्ट बोलेको छ । कामदारको मेडिकल, अभिमुखीकरण, सीपयुक्त तालिम, हवाई खर्च, भिसा शुल्क रोजगारदाताबाटै व्यहोरिनेछ । ‘श्रम सम्झौतामै शून्य लागतको विषय उल्लेख भएपछि अब यो क्षेत्रमा पठाउने म्यानपावरले पनि पूर्ण पालना गर्नुपर्छ,’ उनले भने, ‘जथाभावी रकम बुझेको पाइएमा त्यस्तालाई तुरुन्तै कारबाही हुनेछ ।’ दुईवर्षे करारपत्रमा कामदार लैजाने, दैनिक ८ घण्टा अनिवार्य आराम गर्न पाउने, वर्षमा २८ दिन बिदा पाउने, कामकै दिनमा ओभरटाइम गर्दा १ सय २५ र बिदामा गर्दा १ सय ५० प्रतिशत ज्याला दिनुपर्ने, गुणस्तरीय बसाइ र स्वास्थ्य सुविधा कामदारले पाउने व्यवस्था गरिएको छ । ‘कम्पनी र कामदारबीच समस्या उत्पन्न भएमा कामदारको न्याय प्रक्रिया पनि ग्यारेन्टी गरिएको छ,’ उनले भने । सम्झौतामा राहदानी कामदारसँगै रहने, आफ्नो धर्म मान्न पाउने तथा क्याम्पको नेपाली दूतावासले निरीक्षण गर्न पाउने व्यवस्था उल्लेख छ ।
घरेलु कामदार जान पाउने
श्रम सम्झौतामा घरेलु कामदारलाई विशेष रूपमा समेटिएको छ । अब कानुनी प्रक्रिया पूरा गरेर म्यानपावरले जोर्डनमा घरेलु कामदार पठाउन पाउने बाटो खुला भएको छ । घरेलु कामदारसम्बन्धी निर्देशिकाले दुई देशबीच श्रम सम्झौता भएपछि मात्रै पठाउने व्यवस्था गरेको छ । ‘घरेलु कामदारसम्बन्धी श्रम सम्झौता पहिलोपटक जोर्डनसँग भयो,’ मन्त्री मन्सुरले भने, ‘अब नेपाली कामदार सुरक्षित प्रक्रियाबाट जान पाउने छन् ।’ घरेलु कामदारका लागि उमेर हद तोकिएको छ । यसअनुसार २४ वर्षदेखि ४५ वर्षभित्रका महिला कामदार जान पाउनेछन् । उनीहरूका लागि न्यूनतम तलब ३ सय डलर र बिमा १० हजार अमेरिकी डलर हुने उल्लेख छ ।श्रम मन्त्रालयले जोर्डनसँग श्रम सम्झौता गर्न झन्डै ५ वर्षदेखि तयारी थालेको थियो । जोर्डनमा झन्डै ५ हजार नेपाली कार्यरत छन्, जसमा ८० प्रतिशत महिला छन् । श्रम सम्झौता गर्न जोर्डनमा मन्त्री मन्सुरसँगै निमित्त श्रम सचिव तेजराज पाण्डे, उपसचिव शिवराम पोखरेल, परराष्ट्र मन्त्रालयका उपसचिव कौशलकिशोर राय, मन्त्री मन्सुरकी स्वकीय सचिव मेघा शाही पुगेका थिए । नेपालले कामदार पठाउन अनुमति दिएका १ सय ८ मुलुकमध्ये ५ देशसँग मात्रै श्रम सम्झौता गरेको थियो । नेपाली कामदारको प्रमुख गन्तव्य मानिएको मलेसिया, साउदी अरब, कुवेत र ओमनसँग अझै श्रम सम्झौता भएको छैन । नेपालले सबभन्दा पहिला कतारसँग २००५ को अप्रिल, संयुक्त अरब इमिरेट्स (यूएई) सँग २००७ जुलाईमा र दक्षिण कोरियासँग २००७ मा र बहराइनसँग २००८ मा श्रम सम्झौता गरेको थियो । त्यसपछि झन्डै १० वर्षपछि जोर्डनसँग गरेको हो ।
अर्थ वाणिज्य
टयाक्टर आयातमा भ्याटले किसान मारमा
- विनोद भण्डारी
विराटनगर– सरकारले टयाक्टर आयातमा भ्याट लागू गरेसँगै कम्तीमा डेढ लाखसम्म मूल्य बढेपछि कृषि यन्त्रले खेती गर्ने किसान मारमा परेका छन् । भ्याट छुटमा आयात भएका टयाक्टर वास्तविक किसानको हातमा नपरी उद्योगी व्यवसायीको होल्डमा पुगेको भन्दै सरकारले यस वर्षदेखि टयाक्टर आयातमा भ्याट लागू गरेको हो ।यसअघि कृषि प्रयोजनका नाममा टयाक्टर आयात हुँदा भ्याट छुट थियो । कृषि प्रयोजनका नाममा भ्याट छुटमा आयात भएका टयाक्टर कृषि कर्ममा भन्दा अत्यधिक उद्योगी व्यवसायीले ढुवानीमा प्रयोग गरेपछि सरकारले आर्थिक ऐन २०७४ मार्फत भ्याट लागू गरेको हो । सरकारले टयाक्टरको भन्सार महसुलमा चाहिँ बृद्धि गरेको छैन । टयाक्टरमा ५ प्रतिशत भन्सार महसुल छ ।पछिल्लोपटक १ हजार ८ सय सीसीको (हाते टिलर) मा बाहेक त्यसभन्दा बढी सिसी पावर भएका सबै टयाक्टरमा भ्याट लागू भएको छ । पावर टिलरबाहेक अरू सबै टयाक्टर ३ हजार ५ सय सीसी पावरका हुन्छन । पूर्वाञ्चलमा स्वराज टयाक्टर आयात गर्ने महावीर अटोमोबाइलका ओम शर्माले भने ती सबै टयाक्टरमा भ्याट लागू भएपछि हरेक टयाक्टरको मूल्य कम्तीमा डेढ लाख रुपैयाँसम्म बढेको छ ।व्यवसायीले टयाक्टर आयात गर्दा भन्सारमा तिरेको भ्याट किसानसँग असुल्ने हो । टयाक्टरमा भ्याट लागू हुँदा व्यवसायीलाई कुनै मार पर्दैन । उनले भने, ‘व्यवसायीले त असुलिहाल्छ तर मार किसानलाई परेको छ ।’ राज्यको यो नीतिले कृषिकर्म गर्ने किसान मारमा परेको किसान संघ मोरङका अध्यक्ष केदार थापाको गुनासो छ । किसानले पाउँदै आएको सुविधा पनि सरकारले कटौती गरेको छ । ‘कृषि कर्मका लागि एक त मजदुर पाइँदैन । गोरु र राँगाले जोतेर खेतीगर्ने चलन हटिसक्यो,’ थापाले भने, ‘टयाक्टर खरिदमा पाउँदै गरेको भ्याट छुटको सुविधा पनि कटौती भएपछि वास्तविक किसान स्वत: मारमा परेका छन् ।’ यसअघि कुनै पनि ब्रान्ड र क्षमताका टयाक्टर आयातमा भ्याट छुट थियो । विराटनगर भन्सारका अनुसार आर्थिक ऐन २०७४ ले १ हजार ८ सय सीसीसम्मका टयाक्टरलाई भ्याट छुट र त्योभन्दा बढी सीसी भएका टयाक्टरमा भ्याट लाग्ने उल्लेख छ ।मुलुकमा वार्षिक सरदर ७ हजार टयाक्टर कृषि प्रयोजनाका नाममा पूर्ण रूपमा भ्याट छुट र ५ प्रतिशत भन्सार महसुलमा भित्रिँदै आएको छ । कृषि प्रयोजनाका नाममा भ्याट छुटमा भित्रिएका टयाक्टर किसानको हातमा नपरी उद्योगी व्यवसायीको हातमा बढी पुगेको गुनासो सर्वत्र भएपछि सरकारले टयाक्टरमा छुट दिँदै आएको भ्याट लागू गरेको स्रोतको दाबी छ । राजस्व छुटमा भित्रिएका टयाक्टर खेतबारीमा नभई उद्योग र राजमार्गमा बढी देखिन्छन् ।
अर्थ वाणिज्य
‘टुकटुक’ ले ल्यायो रोजगारीको अवसर
- सन्तोष सिंह
धनुषा– जनकपुर महाबिर चोकका २४ वर्षीय संजय मण्डल बिहान घरको काम सकेर ९ बजे टुकटुक (रिक्सा) लिएर बाहिरिएपछि साँझ ६ बजे घर फर्किदा खल्तिमा १ हजार ५ सय रुपैयाँ कमाएर फर्किन्छन् । एसएलसी पढेर दुई वर्षसम्म कुनै काम नपाएर भौतारीएका संजयले तीन वर्ष यता मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै छन् । ‘विदेश जाने योजना थियो, जाने पैसा नहुँदा कामका लागि भौतारिएँ,’ संजयले भने, ‘रिक्सा चलाउन थालेपछि विदेशको कमाइ जनकपुर घरमै बसेर कमाइएको छ ।’ उनले २ लाख ५० हजार रुपैयाँ ऋण लिएर रिक्सा खरिद गरेका उनले तीन वर्षमा रिक्सा खरिद गर्दा लिएको ऋण तिरेर केही बचत गरेको सुनाए । जनकपुर–१ का ५० वर्षीय रिक्सा चालक संजय यादव पनि रिक्सा चलाएरै महिनाको ३५/४० हजार रुपैयाँ कमाउँछन् । वैदेशिक रोजगारमा कम्पनी बन्द भएपछि ऋणको भारि बोकेर फर्कका उनी जनकपुरमा ६ वर्ष देखि रिक्सा चलाउदै आएका उनले पाइडल भएको रिक्सा ३ वर्ष सम्म चलाएर दिनको ५ सय सम्म कमाएर ऋणको तिरेको सुनाए । उनी शारिरिक रुपले कमजोर भए । जनकपुरमा टुकटुक रिक्सा आएपछि टुकटुक चलाउन थालेका यादव चार गुणाबढी आम्दानी गर्न थालेका छन् । टुकटुक चलाएर संजयले तीन वर्षमा जनकपुरमा घर जोडेका छन् । छोरीको विवाह गरेका छन् । रिक्साकै आम्दनिले परिवारल चलेको छ, संजयले भने,‘जनकपुरमा इमन्दारिता पुर्वक रिक्सा चलाएर महिनाको ४०/४५ हजार सम्म कमाउनेहरू छन् । ‘रिक्साले विदेशमा कमाउने कमाइ जनकपुरमै सम्भव भएको छ,’ उनले भने । जनकपुरमा पाइडल भएको तीनपांग्रे रिक्सा यति बेला पाइँदैन ।
अर्थ वाणिज्य
उद्योगलाई तीन महिना म्याद
औद्योगिक व्यवसाय ऐन
- कान्तिपुर संवाददाता
काठमाडौं– औद्योगिक व्यवसया ऐन २०४९ अनुसार दर्ता भएका तर सञ्चालन, उत्पादन वा कारोबारमा नआएका उद्योगलाई म्याद थप गर्न सरकारले तीन महिनाको समय दिएको छ । २०७३ मा जारी नयाँ औद्योगिक व्यवसाय ऐनअनुसार उद्योग दर्ता भएको निश्चित समयमा सञ्चालन, उत्पादन वा कारोबार नगरेमा अनुपतिपत्र खारेज गर्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाअनुसार उद्योग दर्ता खारेजको मुखमा पुगेका उद्योगहरूलाई विशेष व्यवस्था गरी तीन महिनाको समय दिइएको हो । नयाँ ऐनको दफा ५२ ले दिएको विशेष व्यवस्थाको प्रयोग गरी गत ३० गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर तीन महिनाभित्र सञ्चालनका लागि समय तोकिदिएको छ । तीन महिनाभित्र सञ्चालनमा आउन नसके अनुमतिपत्र रद्द गर्ने जनाइएको छ । ‘सो ऐन प्रारम्भ हुनु अगाडि दर्ता भई उद्योग दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका वा आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्न नसकेका उद्योगको हकमा एकपटकका लागि बाधा अडकाउ फुकाउने प्रयोजनार्थ सूचना प्रकाशित गरिएको हो,’ राजपत्रमा भनिएको छ, ‘सूचना प्रकाशन भएको मितिले तीन महिनाभित्र उद्योग सञ्चालन म्याद थपका लागि आवेदन दिनुपर्नेछ । सो अवधिमा म्याथ थपका लागि परेका निवेदनका आधारमा उद्योग दर्ता गर्ने निकायले म्याद थप गर्न सक्नेछ ।’सो अवधिभित्र म्याद थपको लागि आवेदन नगर्ने उद्योगहरूको हकमा ऐनको दफा ८ को उपदफा ५ बमोजिम स्वत: रद्द हुने सूचनामा उल्लेख छ । उक्त दफाअनुसार उद्योग सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्न नसकेमा कारण खुलाई उद्योग दर्ता प्रमाणपत्रमा उल्लेखित अवधि समाप्त हुनुभन्दा कम्तीमा एक महिनाअघि अवधि बढाउनका लागि उद्योग विभागसमक्ष म्याद थपका लागि निवेदन दिनुपर्नेछ । उक्त निदेवनका आधारमा विभागले निर्णय गर्ने हो । तर विभागमा पनि निवेदन नदिने, सञ्चालन, उत्पादन वा कारोबार पनि नगरे स्वत: खारेज गर्ने व्यवस्था नयाँ ऐनमा गरिएको छ । पहिलेको औद्योगिक व्यवसाय ऐनमा यस्तो कुनै स्पष्ट व्यवस्था थिएन । उक्त कारणले उद्योग दर्ता गर्ने, सञ्चालन, उत्पादन वा कारोबार नगरी चुपचाप अवस्थामा रहने उद्योगको संख्या धेरै छ ।
विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्म तीन करोड रुपैयाँभन्दा बढी लगानीमा ७ हजार ३१ वटा उद्योगहरू दर्ता भइसकेका छन् । ती उद्योगमा १३ खर्ब ३० अर्ब १० करोड ८६ लाख रुपैयाँ लगानीको प्रतिबद्धता छ । ५ लाख ४८ हजार जनालाई रोजगारी दिने प्रतिबद्धता छ । यसमध्ये ३ हजार ६ सय ७५ वटा उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिबद्धता छ । यी उद्योगमा १ खर्ब ९७ अर्ब ६४ करोड ९० लाख रुपैयाँको विदेशी लगानी भित्र्याउने जनाइएको छ । उक्त लगानीले २ लाख १७ हजार ५ सय ५४ जनालाई रोजगारी दिने जनाइएको छ । स्वदेशी तथा विदेशही लगानीमा दर्ता यी उद्योगको सञ्चालन, उत्पादन वा कारोबारको विषयमा अघिल्लो ऐन अस्पष्ट थियो । यी उद्योगबारे आधिकारिक तथ्यांकसमेत सरकारसँग छैन । यो कमजोरीलाई कडाइ गर्न नयाँ ऐनमा स्पष्ट उल्लेख गरिएको हो । कडाइ गरिएको बुँदा मध्येको एउटा विषयका लागि सरकारले विशेष व्यवस्था गरी म्याद थपको निर्णय गरेको हो ।
अर्थ वाणिज्य
बिदा मनाउन अन्नपूर्ण फेदी
- दीपक परियार
अन्नपूर्ण आधार शिविर (एबीसी) मा रमाएका चिनियाँ पर्यटक । तस्बिर : दीपक/कान्तिपुर
अन्नपूर्ण (कास्की)– स्नातक दोस्रो वर्षमा अध्ययनरत काठमाडौं बानेश्वरका विशाल रेग्मी परिवारसँग दसैं मनाइसकेपछि फुर्सदिलो भए । कतै घुम्न जान मन लाग्यो । पोहोर मुस्ताङ पुगेका उनलाई यो वर्ष मनाङ जाने रहर थियो । साथीहरूसँग सल्लाह गरे । रसुवाको गोसाइँकुण्ड, मनाङको तिलिचो, भारतको दार्जिलिङ जाने छलफल उनीहरूको समूहमा चल्यो । अन्तत: अन्नपूर्ण आधार शिविर (एबीसी) को पदयात्रामा निस्कन उनीहरू सहमत भए । ‘युटयुबमा धेरै विदेशी र नेपालीले अपलोड गरेको एबीसीको भिडियोले यहाँ आउन लोभ्यायो,’ असोज २५ मा एबीसीमा भेटिएका उनले भने । एबीसी आइपुगेपछि आफूहरूको रोजाइँ एकदमै सहि लागेको मनिष श्रेष्ठले बताए । ‘जता हेरेपनि हिमालै हिमाल देखिन्छ,’ उनले भने, ‘३ सय ६० डिग्रीमा हिमाल हेर्ने यहाँभन्दा राम्रो ठाउँ अन्त कहाँ होला ?’ लगातार ३ दिन उकालोओरालो गरेपनि एबीसी पुगेपछि सारा थकान मेटिएको अर्का पदयात्री साकार सिकेले सुनाए । ‘बिदा मनाउन एबीसी ट्रेकिङ ‘बेस्ट आइडिया’ हो,’ उनले भने । उनीहरूजस्तै बिदा मनाउन हजारौं पर्यटक एबीसी पुगेका छन् । दसैं तिहारको बिदामा धेरै आन्तरिक पर्यटक एबीसी पुग्छन् । ३ देखि १५ जनासम्मको समूह बनाएर पोखरा, काठमाडौं, बुटवल, चितवन, दमौली, धरान लगायत सहरबाट दैनिकजसो आन्तरिक पर्यटक अन्नपूर्ण सेन्चुरी पदयात्रा मार्ग हुँदै एबीसी पुग्छन् । पदमार्गका होटल यतिखेर भरिभराउँ छन् ।कास्कीको विरेठाँटीबाट सुरु हुने यो पदयात्रा मार्ग एक हप्तामा पूरा गर्न सकिन्छ । घान्द्रुक, न्युब्रिज, झिनु, छोम्रोङ, भनुवा, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छ्ेर आधार शिविर (एमबीसी) र अन्नपूर्ण आधार शिविर (एबीसी) पुगिन्छ । एबीसीबाट एकैसाथ ८ हजार ९२ मिटरको अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, हिउँचुली, गंगापूर्ण, गन्धर्वचुली, माछापुच्छ्रे हिमालको अवलोकन गर्न सकिन्छ । एबीसी पुग्ने मुख्य सिजन भदौदेखि कात्तिक र फागुनदेखि वैशाखसम्म हो । हिउँदमा बढी हिउँ पर्ने र बर्खामा पानी पर्ने भएको उक्त सिजनमा पर्यटक कम जान्छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले छोम्रोङमा सन् २०१६ को अप्रिलमा चेकपोस्ट स्थापना गरेर एबीसी जाने विदेशी पर्यटकको अभिलेख राखेको छ । यही वर्षको भदौ १ बाट आन्तरिक पर्यटकको पनि चेकपोस्टले अभिलेख राख्न सुरु गरेको छ । चेकपोस्टको अभिलेख अनुसार सन् २०१६ को अप्रिलदेखि डिसेम्बरसम्म १९ हजार २९ विदेशी पर्यटक एबीसी पुगेका छन् । ति पर्यटकका गाइड र भरियामात्रै १० हजार ५ सय ९६ थिए । सन् २०१७ को जनवरीदेखि अक्टोबर १६ सम्म २१ हजार ६ सय ७८ विदेशी पर्यटक र १२ हजार ५ सय २५ गाइड र भरिया एबीसी पुगे । दसैं तिहारको बीचमा ११ सय ५६ आन्तरिक पर्यटक एबीसी पुगेर फर्किएका छन् । तिमध्ये २ सय ७१ महिला हुन् । चेकपोस्ट इन्चार्ज नेत्र शर्माले अक्टोबर महिनामा कोरियन र चिनिया पर्यटक बढी भित्रिएको बताए । उनले भने, ‘दुवै देशमा यतिखेरै राष्ट्रिय बिदा परेकोले त्यहाँबाट धेरै पर्यटक आए ।’ नेपालमा पनि दसैं तिहारको बिदा परेकोले एबीसीमा पर्यटकको चाप अत्यधिक भएको उनले सुनाए । उनका अनुसार असोज १५ देखि ३० सम्म ८ सय ५९ कोरियन र ६ सय ७० चिनिया पर्यटक भित्रिए । असोज १७ मा ३ सय ७२ पर्यटक भित्रिँदा १ सय ७५ कोरियन मात्रै थिए ।
पर्यटकको चाप बढेपछि व्यवस्थापनको निम्ति पदमार्गका होटललाई अप्ठयारो पर्ने गरेको छ । छोम्रोङसम्म बासको कुनै समस्या छैन । त्यहाँभन्दा माथि पर्यटकीय सिजनमा बास पाउनै गाह्रो हुन्छ । छोम्रोङ कटेपछि जम्मा २६ होटल छन् । ती होटलमा ६ वटाका दरले १ सय ५६ कोठा छन् । पाहुना धेरै हुँदा डाइनिङ रुम र टेन्टमा सुताउनुपर्ने बाध्यता रहेको होटल सञ्चालक दुर्गा गुरुङ बताउँछिन् । अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने भएपनि एक्याप क्षेत्रमा पर्ने पदमार्गमा सार्वजनिक जग्गामा २६ होटल बनेका हुन् । ती होटलमा एक्यापको अनुमति बिना क्षमता बृद्धि गर्न पाइदैन । एक्यापले थप्नुपर्ने कोठा संख्याको अध्ययन गरेर सिफारिस गर्न संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई परिपत्र गरेको छ । एक्याप घान्द्रुक कार्यालय प्रमुख विदुरविक्रम कुँइकेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनको नीतिनियम भित्र रहेर कोठा थप्न दिने बताउँछन् । ‘सिजनको बेलामा मात्रै हो अलि बढी भिडभाड हुने,’ उनी भन्छन्, ‘यो बेला होटलले जसरी पनि व्यवस्थापन गर्ने र अरु बेला पर्यटक कम हुने भएकोले तत्काल थपिहाल्नुपर्छ जस्तो लाग्दैन ।’ अन्नपूर्ण सेन्चुरी पर्यटन समिति अध्यक्ष ललित गुरुङ भने सबै सिजनमा पर्यटक पुर्याउँन लागिपरिरहेको बताउँछन् । त्यसैको लागि अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव पनि आयोजना गरेको उनले बताए । उनले भने, ‘सबै मौसममा पर्यटक आकर्षित गर्ने उद्देश्यले मेला गरिएको हो ।’
अर्थ वाणिज्य
बैंक खुलेपछि गाउँमा सजिलो
- कान्तिपुर संवाददाता
पैयुँ (पर्वत) (कास)– पैयुँ हुवासकी अम्बिका शाहलाई तीन वर्षअघिसम्म श्रीमान्ले विदेशबाट पठाएको रकम लिन स्याङ्जाको वालिङ वा सदरमुकाम कुस्मा पुग्नुपथ्र्यो । बजार पुगेर एक्लै पैसा लिएर फर्कन डर भएपछि मेसो मिलाएर साथीसँग बजार पुगेर फर्कन ३ दिन बित्थ्यो । अब उनको त्यो सास्ती घटेको छ । बजार आउजाउ गर्दा लाग्ने खर्च पनि बचत भएको छ । गाउँमै बैंक खुलेपछि यस्तो भएको हो । श्रीमान्ले कतारबाट तिहारका लागि पठाएको खर्च लिन पैयुँ गाउँपालिकाको केन्द्र हुवास आएकी मैनादेवी काफ्लेले गाउँमै बैंक खुलेपछि धेरै सहज भएको बताइन् । ‘पहिला २० हजार लिन कुस्मा पुगेर फर्किंदा ८/१० हजार बाटामै सकिन्थ्यो,’ उनले भनिन्, ‘हिजोआज दैलामै बैंक खुलेपछि धेरै सुविस्ता भएको छ ।’ बिहानको खाना खाएर स्थानीय बैंक पुगेकी उनले केहीबेरमै श्रीमानले पठाएको रकम लिएर फर्कन पाइन् । पैयुंमा खुलेका गण्डकी, गरिमा र कृषि विकास बैंकले स्थानीयलाई सेवा दिन थालेपछि रेमिट्यान्स भुक्तानीदेखि ससानो व्यवसायमा पनि सहयोग भएको छ । यसले गृहिणीदेखि व्यवसायीलाई समेत सहज भएको छ । ‘हुवासका व्यापारी भनेपछि कुश्मा र वालिङका बैंकहरूले लगानी गर्न मान्दैनथे,’ स्थानीय व्यवसायी हुमनाथ काफ्लेले भने, ‘यहिं बैंक आएपछि धेरै कुरामा सजिलो भएको छ । व्यवसायका लागि लगानीदेखि आम्दानी भएको रकम बचत पनि बैंकमै गर्न पाइएको छ ।’ हुवासमा सेवा दिइरहेका तीन बैंकका शाखाले स्थानीय व्यवसायीलाई लगानीदेखि रेमिट्यान्स भुक्तानी गरिरहेका छन् । गण्डकीको हुवास शाखाका प्रबन्धक सुवास थापाका अनुसार दैनिक १० देखि ३० जनासम्म रेमिट्यान्स भुक्तानीका लागि ग्राहक आउँछन् । ‘पहिला बैंकिङ सेवामा धेरै दु:ख पाएकाहरू केहीबेरमै सेवा पाउँदा दंग पर्छन्,’ उनले भने, ‘अलि टाढाका सेवाग्राहीलाई छिटोछरितो सेवा दिन छुट्टै व्यवस्था गरेकाले पनि सहज भएको छ ।’ दसैंतिहारको बीचमा स्थानीय बैंकहरूमा रेमिट्यान्स लिन आउने ग्राहकहरूको भीड बाक्लिएको छ । सामान्यभन्दा तीन गुणासम्म बढी रेमिट्यान्स भुक्तानी भएको प्रबन्धक थापाले बताए ।पैयुं गाउँपालिकाले पनि गाउँकै बैंकमार्फत कारोबार सुरु गरेको छ । गाउँमै बैंक भएपछि ससाना योजनाको रकम भुक्तानीका लागि उपभोक्ता समितिलाई सदरमुकाम पठाउने समस्या नभएको गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले बताए ।
म्याग्दी– अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तव्यमध्येको एक मानिने पुनहिलका सबै होटल र गेस्टहाउसहरू पर्यटकले खचाखच छन् । घोडेपानीबाट पुनहिलसम्म पुग्ने बाटो र भ्यु प्वाइन्टमा आराम कुर्सी राख्नेसमेतका पूर्वाधारहरू थप गरिएपछि पर्यटक थप आकर्षित भएका हुन् ।पर्यटन व्यवसायीका अनुसार घोडेपानीमा सानाठूला गरी ३० वटा होटलमा चार सय बेड क्षमताले थेग्न नसकेपछि आँगनमा टेन्ट राखेर पनि पर्यटकलाई बास दिइएको छ । इलाका प्रहरी कार्यालय घोडेपानीको तथ्यांकअनुसार दसैंयता पुनहिलमा दैनिक ४ सय ५० देखि पाँच सयसम्म पर्यटकहरू पुग्ने गरेका छन् । पदयात्राका लागि विश्वकै १० उत्कृष्ट क्षेत्रमध्येको मानिएको पुनहिल म्याग्दी जिल्लाको घारस्थित घोडेपानीमा पर्छ ।‘यति धेरै आएका छन् कि होटलमा बेड पुर्याउन नसक्दा एक्लै आउनेलाई टेन्ट टाँगेर पनि बास दिएका छौं,’ घोडेपानीकी होटल व्यवसायी तारा पुनले भनिन्, ‘विदेशी मात्रै होइन नेपाली नै धेरै आउन थाले । त्यही भएर खान र बस्नको व्यवस्था गर्न हामीलाई अप्ठयारै भइसक्यो ।’ घोडेपानी पर्यटन व्यवसायी समितिको नेतृत्वमा करिब २० लाख रुपैयाँ खर्चेर घोडेपानीबाट माथि पुनहिलसम्म पुग्ने बाटोमा ढुंगा बिच्छाउने, भ्यु प्वाइन्ट व्यवस्थापन, उकालो बाटो मर्मत, आराम गर्ने बेन्चहरू राख्ने र कफी हाउसजस्ता पूर्वाधारहरू थप भएका छन् । ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिल डाँडा धौलागिरि र अन्नपूर्ण हिमालको घेरो र सूर्योदय तथा सूर्यास्त हेर्नलाई परिचित छ । ‘यो वर्ष अघिल्ला वर्षहरूभन्दा बढी टुरिस्ट आएकाले अहिले हाम्रा सबै होटलहरू भरिएका छन्,’ घोडेपानीका पर्यटन व्यवसायी समितिका अध्यक्ष टेकसर बुद्धुजा मगरले भने, ‘योपटकबाट नेपाली टुरिस्ट धेरै भएका छन् । खर्च पनि मनग्ये गर्छन् ।’
विदेश
शनिबारदेखि प्रत्यक्ष शासन
क्याटालोनिया स्वतन्त्रता विवाद
स्पेनी प्रधानमन्त्री मारियानो राखोय
म्याड्रिड (बीबीसी)– स्पेन सरकारले आगामी शनिबारदेखि क्याटालोनियाको स्वायत्तता निलम्बन गर्ने भएको छ । स्पेनी प्रधानमन्त्री मारियानो राखोयको कार्यालयले जनाएअनुसार संविधानको धारा १५५ क्रियाशील गर्न मन्त्रिपरिषद्को बैठक बस्ने जनाएको छ । १९७८ मा जारी स्पेनी संविधानको धारा १५५ मा संसद्ले केही संकट उत्पन्न भएको खण्डमा म्याड्रिडले कुनै पनि क्षेत्रको स्वायत्तता खारेज गर्न सक्ने व्यवस्था छ । प्रमुख नेता कार्लस पुइग्डेमोन्टले स्पेनको केन्द्रीय सरकारले दबाब जारी राखे क्याटालोनियाका संसद्ले स्वतन्त्रताका लागि मतदान गर्ने जनाएको थिए । यसअघि पुइग्डेमोन्टसँग स्पेन सरकारले गत साता स्वतन्त्रता घोषणा गरे नगरेको बारे पाँच दिनभित्र स्पष्ट जवाफ माग गरेको थियो । तर स्पष्ट जवाफको सट्टा उनले केन्द्र सरकारलाई वार्ताका लागि भन्दै दुई महिनाको समय छुट्टयाएको जवाफ दिएका थिए । प्रधानमन्त्री मारियोना राखोयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्पेन सरकारले क्याटालोनिया क्षेत्रको स्वशासनको निलम्बनबारे संविधानको धारा १५५ को कार्यान्वयनको तयारी गरेको छ ।’गत साता पुइग्डेमोन्टले स्पेनसँग वार्ता गर्न तत्काल लागू नगर्ने जनाउँदै क्याटालोनिया स्वतन्त्रताको घोषणामा हस्ताक्षर गरेका थिए । त्यसयता स्पेन सरकार उनीप्रति झन् कडा रूपमा प्रस्तुत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि स्पेनी उपप्रधानमन्त्री सोराया सएन्ज डे सान्टामारियाले स्पेनी सरकार क्याटालोनिया क्षेत्रमा प्रत्यक्ष शासनको नजिक पुगेको जनाएलगत्तै केन्द्र सरकारले क्याटालोनियका प्रत्यक्ष शासनको प्रक्रिया सुरु गर्न लागेको अनुमान गरिएको थियो । सान्टामारियाले पुइग्डेमोन्टलाई प्रस्ट जवाफ दिन अन्तिम पटकका लागि बिहीबारसम्मको समय दिए उनले कुनै जवाफ नदिएपछि सरकारले नयाँ प्रक्रिया सुरु गरेको हो । पुइग्डेमोन्टले स्पेन सरकारलाई जवाफ नदिने निर्णय खेदपूर्ण रहेको जनाउँदै सान्टामारियाले कानुनी प्रक्रियाअनुसार अगाडि बढ्ने बताएकी थिइन् । उनले क्याटालोनिया संकटबारे स्पेन सरकारको निर्णयलाई संसद्ले समर्थन गरेका प्रस्ट पारेकी थिइन् । क्याटालोनियाले गत अक्टोबर १ मा गरेको विवादास्पद जनमतसंग्रहपछि स्पेनमा राजनीतिक संकट उत्पन्न भएको हो । निर्वाचनमा ४० प्रतिशत अर्थात् क्याटालोनियाका करिब २३ लाख जनताले मतदान गरेका थिए । त्यसमध्ये ९० प्रतिशतले क्याटालोनियाको स्वतन्त्रताका पक्षमा मत दिएका थिए । स्पेनको संवैधानिक अदालतले भने जनमतसंग्रहलाई गैरसंवैधानिक ठहर गरिसकेको छ । जनमतसंग्रहयता प्रमुख सहरमा स्वतन्त्रता पक्षधर र विरोधीले प्रदर्शन गर्दै आएका छन् ।
विदेश
भूपू गोर्खालाई १४ वर्ष जेल
लन्डन (कास)– बेलायती अदालतले आफ्नै पत्नीको ज्यान मार्ने उद्योग गरेको अभियोगमा एक भूतपूर्व गोर्खा सैनिकलाई १४ वर्षको जेल सजाय सुनाएको छ । स्विडेनमा बसोबास गर्ने ४२ वर्षीय विकास गुरुङले गत २९ डिसेम्बरमा १८ इन्च लामो खुकुरी प्रहार गरी ३७ वर्षीया कामना गुरुङलाई मरणासन्न बनाएका थिए । झन्डै २ महिना अस्पतालमा उपचार गराएपछि कामना घर फर्केकी छन् । २३ वर्ष गोर्खा रेजिमेन्टमा सेवा गरेर अवकाश लिएका विकासको अन्य महिलासँग सम्पर्क रहेको थाहा पाएपछि नर्स कामनाले पनि इन्टरनेटमार्फत केटा साथी बनाएकी थिइन् । २० वर्षयताको सम्बन्धविच्छेदका लागि पतिसँग कुरा गर्छु भनेपछि कामनामाथि विकासले आक्रमण गरेका थिए । कामनाले आफूलाई नछाडोस् भनेर पतिले उनीप्रति हिंसात्मक व्यवहार गरेको बताएकी छन् ।बेलायतबाट प्रकाशित हुने डेली मेल समाचारपत्रका अनुसार आफूलाई नराम्रोसँग कुटपिट गरेपछि कामनाले आपत्कालीन सेवा ९९९ मा फोन गरेकी थिइन् । फोनमा कुरा गरिरहेका बेला विकासले उनलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्दा फोनमा रेकर्ड भएको उनको चित्कार मुद्दाको सुनुवाइका क्रममा अदालतमा सुनाइएको थियो ।
विदेश
‘भारत–अमेरिका साझेदार’
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन
वासिङ्टन (बीबीसी)– अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले एसियामा चीनको बढ्दो प्रभाव भएको जनाउँदै ‘भारतसँगको सहकार्य थप मजबुद पार्न अमेरिका इच्छुक’ रहेको बताएका छन् । उनले भारतलाई ‘रणनीतिक सम्बन्धको साझेदार’ भएको बताए । उनले चीनलाई ‘गैरप्रजातान्तित्र समाजको’ संज्ञा दिँदै भने, ‘अमेरिकाको भारतसँग जस्तो सम्बन्ध चीनसँग कहिल्यै पनि हुनै सक्दैन् ।’ टिलरसनले साउथ चाइना समुद्रको उदाहरण दिँदै बेइजिङले कहिलेकाहीँ अन्तर्राष्ट्रिय महासन्धिको उल्लंघन गर्ने गरेको आरोप लगाए । टिलरसनको प्रतिक्रिया आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा आएको हो । उनले आगामी साता नयाँदिल्लीको भ्रमण गर्न लागेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर महिनामा चीनसहित केही एसियाली देशको भ्रमण गर्दै छन् ।वासिङ्टनमा भएको एक कार्यक्रममा बोल्दै टिलरसनले भने, ‘अमेरिकाले चीनसँग सुमधुर सम्बन्ध राख्न चाहेको छ तर छिमेकीको सार्वभौमसत्ताको अवमूल्यन गर्ने चिनियाँ नीतिको विरोध गर्ने जनाए ।’ उनले अमेरिका र भारतले प्रजातन्त्रको मूल्य मान्यताका लागि मात्र नभई भविष्यका योजना निर्माणमा पनि सहमति कायम गर्ने बताए । टिलरसनले चिनियाँ राष्ट्रपतिले विश्वव्यापी मामिलामा बेइजिङले आफ्नो भूमिका बढाउँदै जाने संकेत गरेको केही समयपछि आएको हो । कम्युनिस्ट पार्टीको महाधिवेशनमा राष्ट्रपति सी चिनफिङले ‘चीन विश्वमै एक महत्त्वपूर्ण शक्तिका रूपमा उदाएको’ बताएका थिए । उनले कम्युनिस्ट शासनअन्तर्गतको चिनियाँ विकासले अन्य विकासोन्मुख देशलाई ‘नयाँ अवसर’ दिएको बताएका थिए । तर टिलरसनले चीनको कडा आलोचना गर्दै अमेरिका र भारतजस्तै अन्तर्राष्ट्रिय कानुन र मान्यताका पक्षमा उभिन आग्रह गरे । उनले भारतलाई एसियाली क्षेत्रको शान्तिसुरक्षाका लागि क्रियाशील रहन आग्रह गरे । उनको भनाइबारे वासिङ्टनस्थित चिनियाँ दूतावासले चीन कहिल्यै पनि विस्तार–वादको पक्षमा नरहेको जनाएको छ । दूतावासले चीन जहिले पनि नियमानुसारको विश्व राजनीतिको पक्षमा रहेको प्रस्ट पारेको छ ।
विदेश
‘ट्रम्प संवेदनहीन’
वासिङ्टन (बीबीसी)– नाइजरमा एउटा सैन्य कारबाहीका क्रममा मारिएका सैनिककी आमाले अमेरिकी राष्ट्रपति डोनाल्ड टम्प संवदेनहीन भएको बताएकी छन् । श्रीमतीप्रति राष्ट्रपति ट्रम्पले असंवेदनशील अभिव्यक्ति दिएको बताइन् । दिवंगत सैनिक डेभिड जनसनकी आमाले डेमोक्रयाट सांसद फ्रेडेरिका विलसनको टिप्पणी उल्लेख गर्दै ट्रम्पले विधवाप्र ित कम सम्मान देखाएको बताइन् । ट्रम्पले भने विलसनको आरोप बनावटी भएको दाबी गरे । सैनिक डेभिड जनसन यसै महिना इस्लामवादी लडाकुबाट नाइजरमा मारिएका थिए । अक्टोबर ४ मा भएको उक्त घटनापछि ती सैनिकका परिवारलाई सम्पर्क नगरेको भन्दै यसअघि नै ट्रम्पको चर्को आलोचना भइसकेको छ । ट्रम्पले ती सैनिककी श्रीमतीलाई उनका श्रीमान्ले केमा हस्ताक्षर गरेका थिए भन्ने कुरा आफूले नबोलेको बताए । यसैबीच, डेमोक्रयाटिक सांसद विलसनले ट्रम्पले ती सैनिककी विधवाप्रति संवेदनशीलता नदेखाएको बताएकी हुन् । फ्लोरिडा राज्यको प्रतिनिधित्व गर्ने विलसनले सैनिकको शव रहेको बाकस मायमीमा आइपुग्नुअघि राष्ट्रपतिले उनको घरमा फोन गरेको बताइन् । उनले राष्ट्रपतिको अभिव्यक्ति वियोगमा रहेकी एकजना विधवालाई भन्न नहुने किसिमको भएको बताइन् । विलसनको यस्तो भनाइपछि ती सैनिककी आमाले त्यसलाई दोहोर्याउँदै राष्ट्रपति संवेदनशील नभएको बताएकी हुन् । वासिङ्टन पोस्ट पत्रिकासँग बोल्दै उनले छोरा, छोरी, आफू र श्रीमान्प्रति ट्रम्पले अनादर गरेको बताएकी हुन् । एउटा छुट्टै घटनामा ट्रम्पले सैनिक छोरो मारिएपछि वियोगमा रहेका पितालाई फोनमा पैसा दिने प्रस्ताव राखेको र पछि नदिएको घटना पनि सार्वजनिक भएको छ ।
विदेश
४३ अफगानी सेना मारिए
कान्दाहार (सिन्हवा)– अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको सैनिक पोस्टमा तालिवानले गरेको आक्रमणमा कम्तीमा पनि ४३ सैनिक मारिएका छन् । दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा तालिवान हतियारधारीको आक्रमणमा दर्जनांै सैनिक घाइते भएको अधिकारीले बताएका छन् । अधिकारीका अनुसार तालिवानले कारबम तथा अत्याधुनिक हतियारले सैनिक पोस्टमा हमला गरेका थिए । तालिवान लडाकुको आक्रमण लगत्तै सेनाले जवाफी कारबाही सुरु गरेको थियो । भिडन्तपछि अफगान सेनाले उक्त स्थानमा थफ सैनिक परिचालन गरेको जनाएको छ । थप बलको सहायताले अझै ठूलो दुर्घटना टरेको अफगान सेनाको भनाइ छ । विद्रोहीले दुईवटा शक्तिशाली कारबमको प्रयोगबाट हमला गरेका हुन् ।
विदेश
संयुक्त सैन्य अभ्यासको विरोध
प्योङयाङ (सिन्हवा)– उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासको विरोध गरेको छ । दुई देशले गएको सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । उनीहरूले कोरियाली सामुद्रिक सीमा क्षेत्रमा संयुक्त सैन्य अभ्यास सुरु गरेका हुन् । दुई देशले हालसम्मकै ठूलो सैन्य अभ्यासले सैन्यशक्तिको घमण्ड देखाएको उत्तर कोरियाले आरोप लगाएको छ । उत्तर कोरियाको ‘इमर्जेन्सी कमिटी’ का प्रवक्ताले विज्ञप्ति जारी विज्ञप्तिमा उल्लेख छ, ‘यी दुई देशले अहिलेसम्मकै सबैभन्दा ठूलो यो सैन्य अभ्यास सञ्चालन गरेर कोरियाली प्रायद्वीपमा युद्ध चाहेका छन् ।’ विज्ञप्तिमा अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति भन्दा पनि युद्ध चाहेकोले सैन्य अभ्यास र अन्य उत्तेजक व्यवहार प्रदर्शन गरेको उल्लेख गरिएको छ । उत्तर कोरियाले दुई महिना मात्र अघि हाइड्रोजन बम परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा तनाव जारी छ । अमेरिकी पहलमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध जारी नाकाबन्दी थप कडा पारेपछि उत्तर कोरिया थप आक्रामक बनेको हो । त्यसयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच वाक्युद्ध जारी छ । ट्रम्पले उत्तर कोरियालाई पुर्णरुपमा ध्वस्त पार्ने चेतावनी दिएपछि उत्तर कोरियाली विदेशमन्त्रीले उनलाई पागलको संज्ञा दिएका थिए ।
खेलकुद
ठूला टोलीलाई सफलता
च्याम्पियन्स लिग फुटबल
च्याम्पियन्स लिगअन्तर्गत चेल्सीका मार्कस अलोन्सो र एएस रोमाका बु्रनो एयर बलका लागि जुध्दै । तस्बिर : रोयटर्स
पेरिस (एएफपी)– युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार म्यानचेस्टर युनाइटेड, बार्सिलोना, पेरिस सेन्ट जर्मेन, बायर्न म्युनिख र युभेन्ट्सले सफलता हात पारेका छन् । चेल्सीले भने घरेलु मैदानमा एएस रोमासँग ३–३ को बराबरीमा राकिनुपर्यो । स्टामफोर्ड ब्रिजमा भएको खेलमा २–० को अग्रता लिएको चेल्सी दोस्रो हाफमा पछाडि पर्यो । डेविड लुइजको गोलमा अग्रता बनाएको चेल्सीले इडेन हाजार्डको गोलसँगै अग्रता दोब्बर पार्यो । तर एलेक्जेन्डर कोलारोभले पहिलो हाफको अन्त्यतिर एक गोल फर्काए । इडिन जेकोले ६४ औं मिनेटमा उत्कृष्ट भली गोल गर्दै खेल बराबरीमा ल्याए । म्यानचेस्टर सिटीका पूर्व खेलाडी जेकोले हेडरमार्फत गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । तर हाजार्डले पनि हेडर गोल गर्दै अंक बाँड्न बाध्य बनाए ।समूह ‘सी’ को अर्को खेलमा अजरबैजानको क्लब काराबागले एट्लेटिको म्याड्रिडलाई गोलरहित बराबरीमा रोक्यो । च्याम्पियन्स लिगमा पहिलो अंक जोड्ने क्रममा काराबाग १० खेलाडीमा सीमित भयो । फरवार्ड डिनो द्लोभुले अन्तिम समयमा रातो कार्ड पाएका थिए । चेल्सी ७ अंकसहित समूहको शीर्षस्थानमा छ भने ५ अंक जोडेको रोमा दोस्रोमा छ । एट्लेटिको म्याड्रिडले २ अंकमात्र जोडेको छ । म्यानचेस्टर युनाइटेडले पनि शतप्रतिशत जितको सिलसिलालाई निरन्तरता दिँदै बेन्फिकालाई १–० ले पराजित गर्यो । मार्कस रासफोर्डको फ्रिकिक बेन्फिकाका गोलरक्षक मिले स्विलारले सम्हाल्न नसक्दा सोहि गोल निर्णायक साबित भयो । डेब्यू गरिरहेका १८ वर्षे स्विलार च्याम्पियन्स लिगका सबैभन्दा कान्छा गोलरक्षक पनि बने । अन्तिम समयमा कप्तान लुइसाओ रातो कार्ड खाँदै बाहिरिएपछि बेन्फिका १० खेलाडीमा समेटियो । समूह ‘ए’ को अर्को खेलमा बसेलले सिएसकेए मस्कोलाई २–० ले पराजित गर्यो । बसेलको जितमा टौलान्ट झाका र दिमित्री ओबेर्लिनले गोल गरे ।
समूह ‘डी’ को खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले ओलम्पियाकोसलाई ३–१ ले पराजित हरायो । दिमित्रिओस निकोलोउले आत्मघाती गोल गरेपछि बार्सिलोना खेलमा अगाडि बढयो । तर पहिलो हाफमै दोहोरो पहेंलो कार्ड खाँदै जेरार्ड पिके मैदान छाड्न बाध्य भएपछि बार्सिलोना १० खेलाडीमा झरेको हो । दोस्रो हाफमा लियोनल मेसीले फ्रिकिकमार्फत गोल गर्दै च्याम्पियन्स लिगमा आफ्नो सय गोल पूरा गरे । उनकै पासमा लुकास डिग्नेले तेस्रो गोल थपे । निकोलोउले अन्तिममा एक गोल फर्काए । शीर्षस्थानको बार्सिलोनालाई पछयाउँदै युभेन्ट्सले पनि स्पोर्टिङ लिस्बनलाई २–१ ले हरायो । एलेक्स स्यान्ड्रोले आत्मघाती गोल गरेपछि खेलमा पछि परेको युभेन्ट्सलाई मिरालेम प्यानिचले गोल गर्दै बराबरीमा ल्याए । मारियो मान्जुकिचले हेडरमार्फत गोल गरेर टोलीको जित सुनिश्चित पारे ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपमा गरेको सानदार सुरुआतलाई निरन्तरता दिँदै एन्डरलेक्टलाई ४–० ले पराजित गर्यो । पीएसजीको जितमा स्टार फरवार्डत्रय नेयमर, एडिन्सन काभानी र केलियन एमबाप्पेले गोल गरे । एमबाप्पेले दोस्रो मिनेटमा दिलाएको अग्रतालाई काभानीले पहिलो हाफको अन्त्यमा दोब्बर पारेका थिए । नेयमरले दोस्रो हाफमा फ्रिकिकमा गोल गरे । अन्तिम समयमा वैकल्पिक खेलाडी एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई ४–० को जित दिलाए । यो समूह बी को अर्को खेलमा बायर्नले सेल्टिकमाथि ३–० को विजय प्राप्त गर्यो । उसको जितमा थोमस मुलर, जोसुआ किमिच र माट्स हमल्सले गोल गरे । पीएसजी ९ अंकसहित शीर्ष स्थानमा छ । ३ अंक कम बोकेको म्युनिख दोस्रोमा रहेको छ ।
खेलकुद
इमामको डेब्यूमै शतक
इमाम उल हक
अबुधावी (एएफपी)– युवा ओपनर इमाम उल हकले डेब्यूमै शतक बनाएपछि पाकिस्तानले तेस्रो वान डेमा बुधबार श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । यो जितसँगै पाकिस्तानले ५ खेलको सिरिजमा ३–० को अग्रता बनाएको छ ।सिमर हसन अलीले ५ विकेट लिएपछि ब्याटिङ उत्रेको श्रीलंका ४८.२ ओभरमा २ सय ८ रनमा अलआउट भएको थियो । श्रीलंकाले राम्रो सुरुआत गरे पनि मध्यक्रमका ब्याट्सम्यान नचल्दा अन्तिम ९ विकेट १ सय ६ रन अन्तरमा गुमाउन पुग्यो । कप्तान उपुल थारंगाले ६१ रन जोडे । पछिल्लो खेलमा अविजित शतक बनाएका उनले ८० बल खेलेका थिए । लाहिरू थिरिमाने २८ र थिसारा परेराले ३८ रन जोडेपछि श्रीलंकाले २ सय रनको आँकडा पार गरेको हो । हसनको ५–३४ को करिअरकै उत्कृष्ट व्यक्तिगत प्रदर्शनसँगै पाकिस्तानका लागि शादब खानले २ विकेट लिए । सामान्य लक्ष्य पछयाउन ब्याटिङमा उत्रिएको पाकिस्तानले उत्कृष्ट सुरुआत गर्यो । इमामले पहिलो विकेटका लागि २९ रन जोडेका फखार जमानसँग ७८ रनको साझेदारी गरे । पाकिस्तानका पूर्व कप्तान एवं छनोट समितिका सदस्य इन्जमाम उल हकका भतिज इमाम डेब्यूमा शतक बनाउने पाकिस्तानका दोस्रो ब्याट्सम्यान बने । यसअघि सन् १९९५ मा सलिम इलाहीले श्रीलंकाविरुद्ध डेब्यूमा शतक बनाएका थिए । इमामले शतक बनाउने क्रममा १ सय २५ बलमा १ सय रन जोडे । उनले इनिङमा ५ चौका र २ छक्का प्रहार गरे । ४२.३ ओभरमा ३ विकेट क्षतिमा लक्ष्य प्राप्त गरेको पाकिस्तानका लागि मोहम्मद हफिज ३४ रनमा अविजित रहे ।पाकिस्तानले पहिलो खेलमा ८३ रन र दोस्रोमा ३२ रनको जित दर्ता गरेको थियो । सिरिजका बाँकी दुई खेल शुक्रबार र सोमबार शारजहाँमा खेलिनेछ ।
खेलकुद
चार महिला बक्सर थाइल्यान्डतिर
- कान्तिपुर संवाददाता
काठमाडौं (कास)– एसियन वुमन बक्सिङ च्याम्पियनसिपको तयारीका लागि नेपाली महिला बक्सिङ टोली बिहीबार थाइल्यान्ड गएको छ । नोभेम्बर २ देखि ८ सम्म भियतनामको होचि मिन सहरमा हुने च्याम्पियनसिपमा चार खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउने छ । नेपाली टोली थाइल्यान्डमा १२ दिने प्रशिक्षण गरी उतैबाट नोभेम्बर १ तारिख भियतनाम जानेछ ।च्याम्पियनसिपमा ललिता महर्जनले ४८ केजी, विमला श्रेष्ठले ५४ केजी, संगीता सुनारले ६० र पूनम रावलले ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । टोली प्रशिक्षकमा प्रकाश थापामगर र सहायक प्रशिक्षकमा दीपक महर्जन छन् । टिम व्यवस्थापकमा नेपाल बक्सिङ संघका उपाध्यक्ष किरण श्रेष्ठ र कोषाध्यक्ष गौतम सुजखु छन् । टोलीलाई संघका अध्यक्ष राम अवालेले बिहीबारै बिदाइ गरे ।
खेलकुद
डच फुटबलको पीडा
विश्वकप छनोटअन्तर्गत स्विडेनविरुद्ध खेलेपछि नेदरल्यान्ड्सका खेलाडी मैदान बाहिरिँदाको क्षण । फाइल तस्बिर : रोयटर्स
हेग (एएफपी)– सन् २०१८ को विश्वकपमा छनोट हुन नसकेपछि एकपल्टको विश्व फुटबल महाशक्ति नेदरल्यान्ड्सका समर्थकले यो पीडा अझै भुल्न सकेका छैनन् । जुन देशले ‘टोटल फुटबल’ विकास गरेको थियो, त्यही देशको फुटबल अहिले हामी कहाँनिर चुक्यौं भनेर खोज्न तल्लीन छ । स्वीडेनविरुद्धको अन्तिम छनोट खेलमा आर्येन रोबेनले दुई गोल गरे, तर त्यो पनि पर्याप्त रहेन । लगातार दुई ठूला प्रतियोगितामा छनोट हुन नसकेपछि डच फुटबल अवसानतर्फ अग्रसर छ । नेदरल्यान्ड्स विश्वकपमा छनोट हुन त सकेन नै, डच टिमका एक योद्धा रोबेनले पनि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए । यो डच फुटबलमा एक पुस्ताको अन्त्य जस्तै थियो । नेदरल्यान्ड्सका वेस्ली स्नाइडर, रोबिन भान पर्सी र राफेल भान डेर भार्टले कुनै पनि ठूला उपाधि जित्न सकेनन् । ठ्याक्कै दुई वर्षअगाडि नेदरल्यान्ड्स घरमै भएको युरोपेली छनोटमा चेक गणतन्त्रको हातबाट पराजित भएको थियो, त्यो पनि १० खेलाडीमा सीमित प्रतिद्वन्द्वीविरुद्ध । नतिजा डच टिम सन् २०१६ को युरोका लागि छनोट हुन सकेन । अब एक वर्षपछि रुसमा विश्वकप हुने तय भइसकेको छ, त्यसमा पनि नेदरल्यान्ड्स हुने छैन । यो त्यही टिम हो, जुन सन् २०१० को वरीयतामा दोस्रो थियो अनि सन् २०१४ मा तेस्रो । दुई ठूला प्रतियोगितामा रहने अनुपस्थितिले डच फुटबलको एक कालखण्डलाई अब सधैंका लागि ग्रहण लागेको युगका रूपमा सम्झिइनेछ । डच फुटबलका पण्डित ह्युगो ब्रस्टले कतिसम्म लेखेका छन् भने उनी लाजले मर्ने स्थितिमा छन्। ‘विश्व फुटबलमा डच टिम नै एकमात्र त्यस्तो समूह साबित भएको छ, जसले पछाडि फर्केर पतनतर्फ जाने फुटबल खेलिरहेको छ,’ उनले भनेका छन्, ‘अहिले डच टिममा आत्मविश्वास भन्ने नै छैन ।’ पूर्वखेलाडी मार्को भान डेर हेडले पनि मानेका छन्, अहिले डच टिम प्राविधिक रूपमा वास्तवमै निकै कमजोर देखिएको छ । उदाहरणका लागि, अहिले नेदरल्यान्ड्स विपक्षी खेलाडीलाई ‘कभर’ गर्ने नीतिमा हुन्छ, जबकि अरू टिम अचेल ‘जोनल डिफेन्ड’ मा लागेका छन् ।
खेलपछि संन्यास लिएका आर्येन रोबेन
आखिरमा नेदरल्यान्ड्स ‘टोटल फुटबल’ को जन्मदाता त रह्यो । यही रणनीतिमा उसले सन् १९७४ र १८७८ को विश्वकप फाइनल खेलेको थियो । डच लेजेन्ड योहान क्रुफलाई श्रेय दिइन्छ, यो प्रसिद्ध रणनीतिका लागि । अहिलेसम्म पनि डच फुटबललाई यसमै गर्व छ अनि घमण्ड पनि । तर यसबीच अरू देशले फुटबलमा के गरे त ? यो भने नेदरल्यान्ड्सले देखेन । भान डेर हेड भन्छन्, ‘दुई दशकअघि जुन फुटबल शैली राम्रो थियो, अहिले पनि त्यो उत्तिकै निर्णायक छ भनेर भन्न सकिन्न ।’डच मिडियाले नेदरल्यान्ड्स यसपल्टको विश्वकपमा पनि पुग्न नसकेकोलाई ‘क्लिन स्विप’ भनेका छन् । दुई वर्षअघि युरोमा पनि छनोट हुन नसकेको इतिहाससमेत जोडेर । डच फुटबलका समर्थकलाई भनिएको छ, अब रुसमा हुने विश्वकपलाई बिर्सन प्रयास गरे हुन्छ । अब त डच फुटबलले सन् २०२० को युरोका लागि तयारी सुरु गरे हुन्छ । तर यो कस्तो हुनेछ त ? यो उत्तर थाहा पाउन अझै कुर्नुपर्नेछ ।
खेलकुद
आधा उमेर फुटबलमै
- पर्वत पोर्तेल
पूर्वखेलाडी पूर्ण सुब्बालाई सम्मानित गरिँदै ।तस्बिर : पर्वत/कान्तिपुर
काँकडभिट्टा– पूर्वराष्ट्रिय खेलाडी पूर्ण सुब्बाको उमेर ४३ पुग्यो । यिनले आफ्नो आधाभन्दा वढी उमेर फुटबलमै बिताए । ‘ढुंगा पचाउने’ उमेरमा देशका लागि धेरै खेले । तर, खेलजीवनको उत्तराद्र्धमा फुटबललाई चटक्कै माया मारेर विदेसिनु पर्यो । विदेसिनु रहर थिएन बाध्यता थियो । ‘फुटबलवाट जीवन नचलेपछि विदेसिनुपरेको हो,’ पूर्णले सुनाए, ‘अझै नेपालमा खेलेर बाँच्न सक्ने अवस्था बनेकै छैन ।’ यी भेट्रान फुटबलरलाई बुधबार आफ्नै गाउँले फुटबल क्लबले मोटरसाइकल दिएर सम्मान गर्यो । त्यतिवेला उनी भावविहल वने । फुटबलमा पूर्णको योगदानको कदर गर्दै धाइजन–चारआली भेट्रान फुटबल क्लबले १२५ सिसिको डिस्कोभर मोटरसाइकल प्रदान गरेको हो । ‘पूर्व खेलाडीको योगदानको कदर भएको छ,’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले भने, ‘पुरानालाई सम्मान र नयाँलाई माया गर्ने परिपाटी खेलकुद क्षेत्रमा जरुरी छ ।’ २०४० सालदेखि फुटबल खेल्न थालेका थिए पूर्णले । गाउँमा हुने भाले कपदेखि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उनले आफ्नो खेलकौशल देखाए । तत्कालीन धाइजन गाविसबाट वडास्तरीय फुटबलवाट करिअर सुरु गरे । जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय टोलीमा स्थान बनाए । झापाकै हरि खड्कासहित देवनारायण चौधरी, बालगोपाल महर्जनहरूसँग खेले । सन् २००० ताका पूर्णले युथ १९ टिमबाट बंगलादेशमा खेल्ने अवसर पाए । पछि राष्ट्रिय टोलीबाट भारत कोचविहारको एयरलायन्स गोल्डकपमा खेले । भारतमा खेलेर आएपछि पूर्ण टोलीमा परेनन् । खासगरी एन्फामा भएको चरम विवादको सिकारमा परे पूर्णजस्ता धेरै खेलाडी । ‘एन्फा विवाद, राजनीति यस्ता कुराले फुटबलप्रति मनै मर्यो’, पूर्णले अनुभव साटे, ‘लोभीपापी दुनियाँ देखेर वाक्क–दिक्क लाग्यो ।’ खासमा फुटबलवाट गुजारा नभएकैले उनले आफ्नो प्यारो खेले छाड्नुपऱ्यो । यी भेट्रान फुटबलरले करिब ३ वर्ष खाडीमा बिताए । दु:खजिलो गरी विदेशमा पसिना बगाएर थोरै रकम जम्मा गरेर फर्किए । अहिले धाइजन चोकैमा सानो होटल सञ्चालन गरेर बसेका छन् । त्यही होटलको कमाइले ५ जनाको परिवार धान्नुपर्ने बाध्यता छ । नेपालमा अझैसम्म खेलकुद क्षेत्र व्यावसायिक बन्न नसकेकामा दु:खी बन्छन् यिनी । ‘खेलकुदबाटै गुजारा गर्न सक्ने स्थिति म चाहिँ अझै देख्दिनँ,’ पूर्ण भन्छन्, ‘उमेर हुन्जेल आफ्नो लगानीमा खेल्यो, बूढेसकालमा खाली हात ।’
खेलकुद
आयोजकलाई उपाधि
- कान्तिपुर संवाददाता
काँकडभिट्टा (कास)– आयोजक धाइजन–चारआली भेट्रान फुटबल क्लबले सुरुंगा भेट्रान क्लबलाई ३–० ले पराजित गर्दै पाँचौं जिल्लास्तरीय भेट्रान फुटबलको ट्रफी जितेको छ । मेचीनगर १२ कालीझोडास्थित कालिका मैदानमा बुधबार सम्पन्न फाइनल जितेको आयोजकले ५१ हजार रुपैयाँ हात पार्यो । सुरुंगाले ३१ हजार थाप्यो ।विजेताका रमेश गुरुङले २ र प्रेम शेर्माले १ गोल गरेका थिए । उत्कृष्ट खेलाडी आयोजकका भूपेन लिम्बू, म्यान अफ द म्याच सुरुंगाका दर्शनभक्त राज, सर्वाधिक गोलकर्ता आयोजकका रमेश गुरुङ र जेष्ठ खेलाडी काँकडभिट्टाका ५७ वर्षे गंगालाल गुरुङलाई जनही ५ हजार रुपैयाँ प्रदान गरियो । पब्लिक च्वाइसतर्फ आयोजकका सन्तोष बस्नेतलाई मेची मोबाइल एन्ड एसेसरिजबाट एक थान मोबाइल प्रदान गरियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ, वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आलेलगायतले पुरस्कृत गरे ।
हेल्लो शुक्रवार
नेपाली फिल्म २.०
- सुशील पौडेल
कुनै बेला नेपाली फिल्मको नाम सुनेर नाक खुम्च्याउने नयाँ पुस्ता अहिले हूल बाँधेरै हल धाउन थालेका छन् । जसरी फिल्ममा दर्शकको आकर्षण बढ्न थालेको छ, त्यसैगरी कलाकार बन्न चाहने वर्ग पनि फेरिएको छ ।
डढेलो लागेको खरबारीमा झन् राम्रोसँग नयाँ खर पलाएर आउँछ । केही समय नेपाली फिल्म क्षेत्रमा पनि डढेलो नै लागेसरि भयो । चलचित्र विकास बोर्डको संकटकाल घोषणाको तयारी त्यसैको उपज थियो । फिल्महरू बनेका मात्र थिए । खुबै चले भनिएका एकाध फिल्मले पनि मुस्किलले लगानी उठाइरहेका बेला सबैमा ‘फ्रस्टेसन’ थियो । निर्माता पनि लगानी नउठ्ने भयले कलाकारदेखि निर्माण खर्चसम्ममा ‘कम्प्रोमाइज’ को फर्मूला अपनाउन थालेका थिए । माओवादी द्वन्द्व सुरु भएपछि नेपाली फिल्म अधोगतितर्फ धकेलियो । दर्शकमा फिल्म हेर्न हलमा जाने संस्कार टुट्यो र घरमै आउने विदेशी र छिटफुट स्वदेशी सिरियलले लठ्यायो । अनि, नयाँ पुस्ताले नेपाली फिल्मको नाम सुन्नेबित्तिकै नाक खुम्च्याउन थालेका थिए । यतिबेला स्वदेशी फिल्म क्षेत्रले कोल्टे फेरेको छ । कुनै बेला नेपाली फिल्म भनेर नाक खुम्च्याउने पनि यतिबेला साथीसंगीसहित हूल बाँधेर हलमा धाउन थालेका छन् । २०७४ मा ‘छक्का पञ्जा २’ सम्म आइपुग्दा अधिकांश फिल्मले गतिलो व्यापार गरे । ‘म यस्तो गीत गाउँछु’ होस् वा ‘प्रेमगीत २’, ‘ए मेरो हजुर २’ नै, सबैले हलमा दर्शकको घुइँचो लगाउन सफल भए ।जसरी फिल्ममा दर्शक आकर्षण बढ्न थालेको छ, त्यसैगरी कलाकार बन्न चाहने वर्ग पनि फेरिएको छ । हरेक ‘मिस नेपाल’ लाई तपाईं फिल्म क्षेत्रमा आउन चाहनुहुन्छ भन्ने प्रश्न छुट्थेन । अधिकांशले फिल्म खेल्ने चाहना देखाउँथेनन् । तर पछिल्लो समयका मिस नेपालहरू सृष्टि श्रेष्ठ, मलिना जोशी एकपछि अर्को फिल्म खेलिरहेका छन् । सृष्टिले त डेब्यु फिल्म ‘गाजलु’ बाटै थुप्रै अवार्ड जितिन् ।
पछिल्लो पुस्तासँग नेपाली फिल्मलाई जोड्ने श्रेय धेरथोर अनमोल केसीलाई जान्छ । ध्वस्त स्टार भ्यालुलाई उनैले भरथेग गरेका छन् यतिबेला । अनमोलकै कारण पनि स्वदेशी फिल्ममा नयाँ हिरो र हिरोइनको ‘इन्ट्री’ बढेको छ । ‘होस्टेल’ देखि ‘कृ’ सम्मको यात्रामा अनमोलले प्रकृति श्रेष्ठ, आना शर्मा, सृष्टि श्रेष्ठ हुँदै अदीति बुढाथोकी, अश्लेषा ठकुरीसम्मलाई नेपाली फिल्म क्षेत्रमा को–स्टारका रूपमा भित्र्याइसकेका छन् । पहिले हिरो वा हिरोइन बन्नसमेत हच्किने युवा पुस्ता पनि यति बेला कलाकार बन्नुलाई अवसर ठान्न थालेका छन् ।अनमोलपछि उदाए, प्रदीप खड्का । ‘प्रेमगीत’ देखि ‘प्रेमगीत २’ सम्मको दुई फिल्मकै यात्रामा उनको हाइट अकासिएको छ । पल शाह पनि यति बेला आशालाग्दा बनेर देखिएका छन् । ‘म यस्तो गति गाउँछु’ मा पल र पूजा शर्माको जोडीलाई दर्शकले रुचाइदिए । मोडलिङमा लाग्दालाग्दै आयुष्मान देशराज जोशी पनि ‘चपली हाइट २’ बाट नेपाली फिल्मको हिरो बन्न आइपुगे । सामाजिक सञ्जालमा राम्रै फ्यान फलोइङ बटुलेका आयुष्मान यति बेला ‘छक्का पञ्जा २’ मा दर्शकसामु आएका छन् भने ‘कथा काठमाडौं’ मा पनि देख्न सकिनेछ । स्वदेशी फिल्ममा लागेर पनि चर्चा कमाइन थालेपछि आयुष्मानका भाइ आशिरमानसमेत आकर्षित भए । ‘ग्याङस्टर ब्लुज’ मा त उनले पहिले अनमोलकै लागि भनिएको रोलमा खेल्न पाए । अहिले उनी ‘ब्रेकअप’ का लागि टिमअप भइसकेका छन् । सुशील श्रेष्ठ, आर्यन अधिकारी पनि आशालाग्दा नयाँ कलाकारका रूपमा आएका छन् । नेपाली फिल्मको आधा शताब्दी लामो इतिहासमा कमै मात्र चर्चित व्यक्ति प्रवेश गरे । पढेलेखेको कलाकारको नाम लिनुपर्दा लामो समय राजेश हमाल नै गन्तीमा आइरहे । अहिले पढेकैको जमात ठूलो भइसकेको छ । भर्खरैको हिट ‘ए मेरो हजुर २’ का नायक सलिनमान बानियाँ पेसाले इन्जिनियर हुन् । उनी साम्राज्ञी राज्यलक्ष्मी शाहको को–स्टार भई फिल्म खेल्न इच्छुक भए ।
नायिकामा पनि साम्राज्ञीदेखि आना शर्मा, सारा सिर्पाली, आँचल शर्मा, पूजा शर्मा, दिया पुन, दीपिका प्रसार्इंलगायत पछिल्लो पुस्तालाई सम्बोधन गर्ने नायिकामा पर्छन् । नयाँ कलाकारको हस्तक्षेप स्वदेशी फिल्ममा यति बाक्लिँदै गइरहेको छ, पुराना नायिकाहरू बिस्तारै फिल्म निर्माणतर्फ धकेलिन बाध्य भएका छन् । रेखा थापा होस् वा ऋचा शर्मा, केकी अधिकारी, निशा अधिकारी त्यसका ज्वलन्त उदाहरण हुन् । लामो समयको डढेलोपछि यति बेला नेपाली फिल्मी क्षेत्रमा आशाको नयाँ टुसो पलाउन थालेको छ । फिल्म खेल्न पाउने आशामा नाटकघरमा प्रशिक्षण लिन आउने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । राजधानीका नाटकघर यति बेला फिल्म कलाकार उत्पादनका कारखाना साबित भएका छन् । कुनै बेला फिल्म क्षेत्रमा संलग्न हुनु सीधै परिवारसँग दुश्मनी साध्नु बराबर हुन्थ्यो । राजेश हमालले फिल्म खेलेपछि बुबासँग बोलचाल नै हराएको थियो । तर उनै राजेश आजसम्म पनि यही क्षेत्रमा सक्रिय छन् र अधिकांश युवाका उत्प्रेरक पनि बनेका छन् । नायिकाको हकमा त अवस्था झनै प्रतिकूल थियो । फिल्म खेल्ने भनेपछि महिलालाई गतिलो नजरले हेरिँदैनथ्यो । तर यति बेला भने सारा दृष्टिदोषमा परिवर्तन आइरहेको छ र राम्रो पारिवारिक पृष्ठभूमि भएका र पहिल्यै कुनै क्षेत्रमा आफूलाई स्थापित गरिसकेका पनि फिल्म क्षेत्रमा आकर्षित भएका छन् ।
कलाकार फिल्म अनमोल केसी : होस्टेल, जेरी, गाजलु, कृ अदीति बुढाथोकी : कृ सृष्टि श्रेष्ठ : गाजलु, रोमियो एन्ड मुना अश्लेषा ठकुरी: प्रेमगीत २ पल शाह : म यस्तो गीत गाउँछु,जोनी जेन्टलम्यान प्रदीप खड्का: प्रेमगीत, प्रेमगीत २ सुशील श्रेष्ठ: होस्टेल, रिटन्र्स, कारखाना
हेल्लो शुक्रवार
विन्डोज फोनको अवसान
माइक्रोसफ्टले आफ्नो विन्डोज फोनको उत्पादन बन्द गर्ने संकेत गरेको छ । विन्डोज फोनको इतिहास अहिलेजस्तो निराश भने थिएन । तर, बजारमा उसको उपस्थिति किन जम्न सकेन ?
पछिल्ला केही वर्षदेखिको आशंकालाई सही सावित गर्दै माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टमसहितको विन्डोज फोन उत्पादन बन्द गर्ने संकेत दिएको छ । न्यून ग्राहक संख्या र प्रयोगकर्ताको कम रुचिका कारण बजारमा उसको उपस्थिति ज्यादै कमजोर बनेको थियो । तीन साताअघि माइक्रोसफ्टको विन्डोज टेन डिभिजन प्रमुख जोय बेल्फियरले विन्डोज फोनको उत्पादन बन्द हुने जानकारी ट्वीटरमार्फत गराएका थिए । उनले फोन प्रयोग गर्नेहरूको लागि सेक्युरिटीलगायतका अपडेट जारी राख्ने भए पनि कम्पनीको ध्यान अब विन्डोज फोनमा नभएको बताएका थिए ।अघिल्लो महिनाको मोबाइल बजारको तथ्यांकअनुसार विन्डोज फोनको बजारमा हिस्सा विश्व बजारमा एक प्रतिशतभन्दा कम छ । बेल्फियरले पनि उत्पादन बन्द गर्ने कम्पनीको योजनालाई यही कारण दिएका छन् । उनले भनेका छन्– हामीले धेरै लगानी गर्यौं तर यसका प्रयोगकर्ता यति थोरै छन् कि यसमा लगानी गर्न कुनै कम्पनी चाहँदैन । यद्यपि यसको औपचारिक घोषणा माइक्रोसफ्टले गरिसकेको छैन ।
बजारमा आधिपत्य घटेर बन्द गर्ने अवस्थामा आइपुगे पनि विन्डोज फोनको इतिहास त्यति झुर छैन् जति अहिलेको अवस्था हेर्दा लाग्छ । सन् २००७ मा आइफोन सार्वजनिक भएपछि पहिचानको संकटमा परेका अन्य स्मार्टफोन कम्पनीमाझ माइक्रोसफ्टको विन्डोज फोनले त्राण भरेको थियो । भनौं, यसले प्रयोगकर्तालाई आइफोनको विकल्प दिएको थियो । तर, त्यसपछिको बजार भने उसको नियन्त्रणमा रहेन ।सन् २०१० मा माइक्रोसफ्टले रिलिज गरेको विन्डोज अपरेटिङ सिस्टममा आधारित विन्डोज सेभेन फोन डिजाइन र पर्फमेन्सको हिसाबले अब्बलमध्येमा थियो र यसले स्मार्टफोन बजारमा आफ्नै पहिचान पनि बनाएको थियो । माइक्रोसफ्टले आफ्नो विन्डोज फोनमा डेस्कटप कम्प्युटरमा पाइने सुविधा दिएर प्रयोगकर्ता आकर्षित गर्ने उपाय खोजेको थियो । त्यो बेला यसलाई एप्पलको डिजाइन चोरी गरेको आरोप लाग्ने सामसुङभन्दा अब्बल मानिएको थियो ।
दुई वर्षपछि उसले विन्डोज एट फोन सार्वजनिक गर्यो र सन् २०१५ मा उसले विन्डोज फोन सार्वजनिक गर्दै कम्प्युटर र स्मार्टफोनमा एउटै अपरेटिङ सिस्टम राख्ने अवधारणा अघि सार्यो तर विडम्बना उसको यो अवधारणाले प्रयोगकर्तालाई आकर्षित गर्न सकेन र उसको बजार हिस्सा खस्कँदो अवस्थामा पुगिसकेको थियो । ब्याट्री, हार्डवेयर, क्यामेरा र केही फिचरमा अरूभन्दा फरक गर्न खोजे पनि विन्डोज फोनले यसको क्रेडिट पाएन । उसका यी साना–साना सफलता अहिलेको एकमुस्ट असफलताबीचमा बिलाएका छन् । उसले आफ्नो सफल ब्रान्ड स्काइप र माइक्रोसफ्टलाई मोबाइलमा जोडेर सहज बनाउन खोजेको थियो भने माइक्रोसफ्ट एज वेब ब्राउजरलाई प्रयोगकर्ताले रुचाउने गरी तयार पारेको थियो । सन् २०१५ मा एन्ड्रोइड र आईओएस डिभाइसले स्मार्टफोन बजारको ९६ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका बेला विन्डोज फोनको हिस्सा साढे दुई प्रतिशत थियो तर अहिले त्यो एक प्रतिशतभन्दा तल पुगेको छ ।
विश्लेषकहरूको मान्यता छ– विन्डोज फोनले कम प्रयोगकर्ता आकर्षित गर्नुमा उसको गुगलसँगको विवाद पनि प्रमुख कारण हो किनकी गुगलसँगको विवादकै कारण विन्डोज फोनले युट्युबलाई आफ्नो स्मार्टफोनमा राम्ररी प्रयोग गर्न पाएन र सन् २०१३ मा गुगलले विन्डोज फोनमा आफ्नो म्याप सर्भिस गुगल म्याप नचल्ने बनाइदिएको थियो ।त्यो त्यस्तो बेला थियो जुन बेला गुगल स्वामित्वको म्याप र युट्युब दुवैको लोकप्रियता चुलिँदै गएको थियो । माइक्रोसफ्टले सर्च इन्जिनको रूपमा समेत आफ्नै बिङलाई प्रयोग गरेको थियो तर प्रयोगकर्ताले भने गुगल सर्च इन्जिनलाई रुचाइरहेका थिए ।यी साना कुरा हुन् तर यस्तै सामान्य कुरा पनि प्रयोगकर्ताको ध्यान मोड्न भूमिका खेलिरहेका हुन्छन् । सायद, यसैलाई मध्यनगर गरेर अपरेटिङ सिस्टम आफ्नै भए पनि एप्पलले आफ्नो आईओएस डिभाइसमा गुगलका लोकप्रिय सबै प्रडक्लाई स्विकारेको छ ।
यता, गुगलले आफ्नो प्ले स्टोर र एप्पलले आफ्नो एप स्टोरमा धेरैभन्दा धेरै डेभलपरलाई एप निर्माणका लागि प्रोत्साहित गरिरहे पनि माइक्रोसफ्टले आफ्नो विन्डोज फोन स्टोरमा थर्ड पार्टी एप डेभलपरलाई आकर्षित गर्न सकेन जति उसका प्रतिस्पर्धीले गरिरहेका थिए । सन् २००० देखि नै स्मार्टफोन बजारमा चासो राखेको माइक्रोसफ्टले आफ्नो आधिपत्य स्थापित गर्न अन्य प्रयास नगरेको पनि होइन । उसले सन् २०१३ मा नोकियाको मोबाइल युनिट र यसको ब्रान्डको अधिकार किन्ने घोषणा गरेको थियो र अर्को वर्षदेखि उसले नोकियाको फोनलाई आफ्नो ब्रान्डमा सार्वजनिक गर्न सुरु पनि गर्यो । तर, कुनै समय स्मार्टफोन बजारको नम्बर एक कम्पनीको ब्रान्ड लिएर पनि स्मार्टफोन बजारमा माइक्रोसफ्टले कुनै कमाल गर्न सकेन । बरु, ५ अर्ब डलर खर्चेर किनेको मोबाइल युनिट र ब्रान्ड राइट उसले १८ महिनापछि बिक्री गर्ने निधो गर्यो । नोकियाको ब्रान्ड राइट उसले अघिल्लो वर्ष ३५० मिलियन डलरमा फिनल्यान्डको कम्पनी एचएमडीलाई बिक्री गरेको थियो । र, यसको उत्पादन र बजार प्रवद्र्धन गर्ने जिम्मा फक्सकनलाई दिइएको छ, जुन कम्पनी आइफोनको निर्माणमा पनि संलग्न छ । अहिले एचएमडी र फक्सकन मिलेर नोकिया ब्रान्डमा नयाँ स्मार्टफोन बजार पठाइरहेका छन् ।
मोबाइल फोन युनिट र १० वर्षसम्मको ब्रान्ड राइटको लागि नोकियालाई करिब साढे ५ अर्ब डलर तिर्ने सहमति गरेको माइक्रोसफ्टले सफलताको कुनै सूत्र नभेटेकै कारण नै २ वर्ष नपुग्दा ३५० मिलियन डलर मात्रै लिएर यसको ब्रान्ड बिक्री गरेको हुनुपर्छ । र, यिनै असफलताले पनि स्मार्टफोन बजारमा आफ्नो उपस्थिति जनाउन नसक्ने गरी उसलाई निराश बनाएको हुनुपर्छ ।विन्डोज फोनको अवस्था कति निराशाजनक छ भन्ने संकेत गर्न माइक्रोसफ्टका संस्थापक तथा पूर्वप्रमुख बिल गेट्सको भनाइ काफी छ । सेप्टेम्बर अन्तिमतिर फक्स न्युजसँगको अन्तर्वार्तामा गेट्सले भनेका थिए– मैले केही अघिदेखि विन्डोज फोन चलाउन छाडें र अहिले एन्ड्रोइड स्मार्टफोन बोक्छु । –एजेन्सीको सहयोगमा
हेल्लो शुक्रवार
स्पर्स स्टार
- सुबास हुमागाईं
अहिलेको गतिमै केनले आफूलाई सिद्ध पार्दै जाने हो भने टोटेनहम र इङ्ल्यान्डले केनकै वरपर रहेर आफ्नो स्वर्णीम इतिहास रच्न सक्नेमा कुनै दुई मत छैन ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक ग्राहाम रोबर्ट्स पनि केनका प्रशंसक हुन् । एक मिडियाले केनलाई म्यानचेस्टर युनाइटेड जान १ सय ७० मिलियन पाउन्डको प्रस्ताव आउँदै छ भनेको थियो । रोबर्ट्सले त्यति पैसामा केनको बायाँ खुट्टा मात्र पनि किन्न नपुग्ने अभिव्यक्ति दिए ।
विश्व फुटबलमा वर्तमान तथ्यांक पल्टाउने हो भने लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको नजिक आउने खेलाडीमध्येमा केन पनि पर्छन् । अझ सन् २०१७ को प्रदर्शन हेर्ने हो भने उनले रोनाल्डोलाई पनि पछि पारेका छन् ।
बाल्यकालदेखि जुन क्लबको समर्थन गर्यो, सोही क्लबबाट व्यावसायिक फुटबल खेल्ने मौका कमैले पाउँछन् । मौका पाउने कममध्येका खेलाडीले सफलतापूर्वक खेल जीवन अगाडि बढाएका झनै कम छन् । अझ विश्व फुटबलकै ठूला क्लबका लागि बाल्यकालदेखि नै वर्षौं बिताएका घटना औंलामा गन्न सकिन्छ । टोटेनहम हटस्परका फरवार्ड ह्यारी केन सोही दुर्लभ सूचीमा पर्ने खेलाडी हुन् । गत सिजन एएस रोमाका फ्रान्सेसको टोट्टीले २५ वर्षे लामो खेलाडी जीवनबाट संन्यास लिए । आफ्नो पूरै करियर एएस रोमालाई सुम्पिएका उनले संन्यास लिएलगत्तै क्लब निर्देशकको पदमा बसे ।टोटेनहमका प्रशिक्षक मौरिचियो पोचेटिनोको भनाइ मान्ने हो भने केन टोटेनहमका आफ्नै टोट्टी बन्न सक्छन् । ‘टोट्टीको अन्तिम खेल हेरेपश्चात् केन निकै भावुक भएका थिए । मलाई लाग्छ कि केन टोटेनहमका लागि सोही भूमिकामा प्रस्तुत हुन सक्छन् । उनले बाल्यकालदेखि यसै क्लबबाट खेल्दै आएका छन् र उनी अहिले क्लबको पहिचानका रूपमै स्थापित भइसकेका छन्,’ केनबारे पोचेटिनोले भनेका छन् ।
मंगलबार राति टोटेनहमले रियल म्याड्रिडको घरेलु मैदानमा च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेल खेल्यो । दुवैतर्फबाट १/१ गोल भएपछि बराबरीमा सकिएको उक्त खेल दुई टोलीबीच सात वर्षपछिको भिडन्त थियो । सात वर्षअघि १७ वर्षीय केन इङ्लिस फुटबलको तेस्रो श्रेणीको क्लब लेटन ओरियन्टमा दोस्रो रोजाइका स्ट्राइकरका रूपमा लोनमा थिए । त्यसपछिको दुई वर्षमा केन थप तीन क्लबमा पुगे र तीनै क्लबमा उनले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । उनले मिलवाल, नर्विच र लेस्टर सिटीमा कुल ४७ खेलमा ११ गोलमात्र गरे । लेस्टर सिटी प्रिमियर लिगको प्लेअफमा वाटफर्डसँग पराजित हुँदा जेमी भार्डी र ह्यारी केन दुवै लेस्टरका लागि दोस्रो रोजाइका खेलाडी थिए । सन् २०१३/१४ को सिजनमा टोटेनहमको पहिलो टोलीमा मौका पाएका केनले त्यसपछि फर्केर हेर्नुपरेन । टिम सेरवुड कार्यवाहक प्रशिक्षकका रूपमा रहँदा केनले १९ खेलमा ४ गोल गरेपछि क्लबमा उनको भविष्य रहने सम्भावना बढ्यो । त्यसपछिको सिजन हालका प्रशिक्षक मौरिचियो पोचेटिनो आउनु केनको विकास र भविष्यको कोसेढुंगा सावित भयो ।
सुरुआतमा विरलै मौका पाएका केनले दोस्रो दर्जाको प्रतियोगिताका रूपमा हेरिएको कपका खेलहरूमा राम्रो प्रदर्शन गरेपछि प्रिमियर लिगमा खेल्ने मौका पाए । रोबर्टो सोल्डाडो र इम्यानुएल आडेबायोरजस्ता युरोपमै नाम कमाएका खेलाडी चल्न नसक्दा केनले त्यसको फाइदा उठाए । निरन्तर आफ्नो खेलमा सुधार ल्याएका उनले त्यस सिजन ३२ गोल गरे । उनले पछिल्लो दुई सिजन प्रिमियर लिगको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटको उपाधि आफ्नो पोल्टामा पारेका छन् । उनको अबको लक्ष्य गोल्डेन बुटमा ह्याट्रिक गर्ने हुनेछ, जुन उपलब्धि प्रिमियर लिग इतिहासमा एलन सिएरर र थिएरी हेनरीले मात्र हासिल गरेका छन् । केन निकै मिहिनेती खेलाडी त हुन् नै, उनको खेल्ने शैली प्रिमियर लिगको लागि सुहाउँदो छ । उनले सबै किसिमका गोल गर्छन र टोलीको चाहअनुरूप खेल ढाल्न सक्ने क्षमता छ । विश्व फुटबलमा वर्तमान तथ्यांक पल्टाउने हो भने लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको नजिक आउने खेलाडीमा केन पनि अग्रपंक्तिमा पर्छन । अझ सन् २०१७ को प्रदर्शन हेर्ने हो भने उनले रोनाल्डोलाई पनि पछि पारेका छन् ।
खेल्ने शैलीमा दिन प्रतिदिन विकास हुँदै जानु र खेलमा पनि निरन्तर गोल गर्दै जानुका कारण युरोपियन फुटबलका महारथीले उनीमाथि आँखा गाढ्न थालिसकेका छन् । यद्यपि उनलाई भित्र्याउने प्रयास मात्र पनि सहज छैन । टोटेनहमका अध्यक्ष ड्यानिएल लेभी क्लबका कट्टर समर्थक त हुन् नै, सँगसँगै फुटबल व्यावसायिकरूपमा पनि उत्तिकै पहिचान बनाएका छन् । कुनै पनि सौदा गर्दा उनले आफूलाई फाइदा नहुने काम कमै गरेका छन् । टोटेनहमले विगत एक दशकयता गरेको ट्रान्सफरको बजेटले पनि यसलाई पुष्टि गर्छ । प्रिमियर लिगका अन्य टोली खुलेर खर्च गरिरहँदा लेभीले कम खर्च गरेर भए पनि प्रशिक्षकको चाह अनुसारको खेलाडी ल्याएकै छन् । अन्य टोलीको कमाइभन्दा खर्च बढी देखिँदा टोटेनहम भने ट्रान्सफरबाट रकम बचत गरेर रंगशाला निर्माणतर्फ अग्रसर देखिएको छ । हाल क्लबले रंगशालालाई प्राथमिकतामा राखेको छ । लेभीले म्याड्रिडविरुद्धको खेलअघि केनको ट्रान्सफरलाई लिएर प्रस्ट भनेका छन् । ‘केन अहिलेको बजारमा २ सय मिलियनभन्दा बढी पर्ने खेलाडी हुन् । कुनै क्लबले उक्त पैसा तिर्न खोजे पनि हामी उनलाई कुनै हालतमा बेच्ने छैनौं । उनी आफैं पनि क्लब छाड्ने मनसायमा छैनन्,’ लेभीले बताए । पछिल्लो पटक ग्यारेथ बेल रियल म्याड्रिड जाँदा लेभीले रियललाई विश्व कीर्तिमानी रकम तिर्न बाध्य बनाएका थिए । यसपटक भने उनले जसरी पनि क्लबले केनलाई जान नदिने भनेका छन् ।
क्लबका पूर्वकप्तान एवं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक ग्राहाम रोबर्ट्स पनि केनका प्रशंसक हुन् । उनले यसै सातामात्र ट्वीटरमा केनको ट्रान्सफरलाई लिएर चलेको हल्लामा आफ्नो अभिव्यक्ति दिए । एक मिडियाले केनलाई म्यानचेस्टर युनाइटेड जान १ सय ७० मिलियन पाउन्डको प्रस्ताव आउँदै छ भनेको थियो । रोबर्ट्सले त्यति पैसामा केनको बायाँ खुट्टा मात्र पनि किन्न नपुग्ने अभिव्यक्ति दिए ।च्याम्पियन्स लिगको पछिल्लो खेलमा एपोएलविरुद्ध ह्याट्रिक गरेका केनले सेप्टेम्बर महिनामा प्रिमियर लिगको उत्कृष्ट खेलाडीको उपाधि हात पारे । अगस्ट महिनामा गोलको खडेरी लागे पनि उनले सेप्टेम्बरमा भने गोलको वर्षा नै गरे । यसबीचमा राष्ट्रिय टोलीको कप्तानी गर्दै टोलीलाई विश्वकपसम्म पुर्याएका उनले राष्ट्रिय टोलीका लागि गोल पनि गरे । डेब्यु गरेको केही मिनेटमै राष्ट्रिय टोलीका लागि खाता खोलेका उनलाई अर्को वर्ष रसियामा हुने विश्वकपका लागि राष्ट्रिय टोलीको कप्तानका रुपमा पनि हेरिएको छ ।
पहिलो फुल सिजनमा लगातार गोल गरेर तहल्का मच्चाएका केनलाई ‘वनसिजन वन्डर’ अर्थात् एक सिजनको कागताली भन्ने जमात पनि थियो । लगातार सिजनमा गोल्डेन बुट र राष्ट्रिय टोलीका लागि गोल गर्दै उनले ति आलोचकको मुख बन्द गराए । छोटो समयमै विश्वस्तरीय खेलाडीको पहिचान बनाउन सफल केन क्लबका समर्थकमाझ प्रिय पात्र हुन् । युवा खेलाडीले भरिएको टोटेनहममा एकेडेमीबाट आउने खेलाडीमा केन सर्वश्रेष्ठ छन् नै, उनी अब क्लबकै उत्कृष्ट खेलाडीका रुपमा अगाडी बढ्दैछन् । वायन रोनीले राष्ट्रिय टोलीबाट संन्यास लिएसँगै फरवार्डको मुख्य भूमिकामा पनि केननै देखापर्ने पक्का छ । रोनीको प्रस्थानपछि कप्तानीको जिम्मा अझै टुंगो नलाग्दा केनले उक्त जिम्मेवारी वहन गरिरहेका छन् । व्यक्तिगत रूपमा पनि निकै सहज जीवनयापन गर्ने केनमा क्लबप्रतिको माया भरपुर छ । उनले क्लबको नजिकै घर किनेका छन् र प्रशिक्षणमा आउने पहिला र जाने अन्तिम खेलाडी हुन्छन् ।
प्रशिक्षक पोचेटिनोका अनुसार उनको सुन्ने र सुझावलाई अवलम्बन गर्ने क्षमताले उनको खेलमा चाँडै विकास भएको हो । बाल्यकालदेखिको सपना पूरा गरेका केन अब क्लब मात्र नभएर राष्ट्रकै गहनाका रुपमा स्थापित भइसकेका छन् । आगामी विश्वकपमा इङ्ल्यान्डको प्रदर्शन कस्तो हुने हो ? त्यसमा पनि उनको ठूलो हात हुनेछ । अहिलेको गतिमै केनले आफूलाई सिद्ध पार्दै जाने हो भने टोटेनहम र इङ्ल्यान्डले केनकै वरपर रहेर आफ्नो स्वर्णीम इतिहास रच्न सक्नेमा कुनै दुई मत छैन । केन राष्ट्रिय टोलीमा त सधैं उपलब्ध हुन्छन् नै । क्लबले भने यसका लागि विशेष भूमिका खेलेर उनलाई राख्नुपर्छ ।नयाँ रंगशालासहित नयाँ युगमा प्रवेश गर्दा केन त्यसका मुख्य पात्र बन्न सक्षम छन् । किनकि उनी क्लबको आफ्ना हुन्, अर्थात् ‘वान अफ आवर ओन’ ।
हेल्लो शुक्रवार
नेपाली रोडमा अस्ट्रेलियन हन्टर
बाल्यकालदेखि नै हार्ले र ट्रिम्प्सजस्ता मोटर बाइकहरू अस्ट्रेलियाका सडकमा चलाउँदै र हेर्दै आफ्नो समय गुजारेका एक व्यक्तिको आफैंले चालक अनुमतिपत्र लिएपछि दैनिकी नै फेरिएको थियो । क्रुज बाइकमा प्रतिबन्ध लागेको त्यस बेला उनले सडकमा मोटरसाइकल हुइँक्याउन थालेका थिए । त्यसपछि क्रुजको विकल्प खोजी गर्दै जाँदा उनले हन्टर बाइक नै ल्याए, जुन ब्रान्ड छोटो अवधिमै युवा पुस्तामा लोकप्रिय भएको छ ।सन् २००७ देखि बजारमा आएको ‘हन्टर’ को पहिलो उत्पादन २५० सीसीको स्पाइडर थियो । यसको आकर्षक डिजाइनका कारण अस्ट्रेलियन मिडियामै राम्रो चर्चा पाएको थियो । त्यसपछि यसले अस्ट्रेलियाको बोर्डर पार गर्दै अघि बढेको थियो । र १३ वर्षभित्र अरू उत्पादन पनि बजारमा ल्याउँदै हन्टरले तन्नेरी पुस्ताको मन जित्न सफल भएको छ ।सीमित लगानी र स्रोत अनि विश्वभरका बाइक निर्माताहरूको परामर्शमा क्रुजलाई कानुनी इजाजत दिलाउँदै बाइक निर्माण गरिएको हो । नेपाल, इन्डोनेसिया, न्युजिल्यान्डलगायत विभिन्न देशहरूमा आफ्नो बिक्री सञ्जाल फैलाएको हन्टरले क्रुज, केफ रेसर, स्पोटर््सजस्ता बाइक उत्पादन गरेको छ । यसले ताइवानस्थित कारखानामा उत्पादन गर्दै आएको छ ।हन्टरको केफ रेसर ३५० र स्निपर टीटी ३५० एक्स दुई मोडलमा बाइक नेपालमा उपलब्ध छन् । अघिल्लो महिनामा राजधानीमा भएको नाडा अटो शोमार्फत नेपालमा यी बाइक भित्र्याइएको थियो । नेपालका लागि आधिकारिक बिक्रेता राई मोटर्स प्रालिले दुवै मोडलको मूल्य ६ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।दुवै मोडेलका इन्जिनको क्षमता ३२० सीसी छ । यसमा वाटर कुलर इन्जिन पनि छ । अन्य इन्जिनको तुलनामा यस्ता इन्जिनको काम गर्ने क्षमता बढी हुन्छ । साथै, इन्जिन छिटो तात्तिने समस्या हुन्न । यसको अवगुण भने बाइकमा इन्जिनको अतिरिक्त भार थपिनु हो ।दुवै बाइकको ट्यांक १४ लिटर र १६ लिटरका छन् । दुवैमा ५ स्पिड गियर बक्स र ट्रान्मिस्सिओन र इलेक्ट्रिक स्टार्ट छ ।
दुवै बाइकको माइलेज २५ किमि प्रतिलिटर दाबी गरिएको छ । तर, यो अन्य परिस्थितिमा पनि निर्भर हुने गर्छ ।भारतीय सहरमा उत्पादित मोटरसाइकलमा निर्भर रहेको नेपाली बाइक बजारमा हन्टरले पनि सफलता पाउने संकेत देखाएको छ । पोखरा, धरान, विराटनगर, नारायणगढ, बुटवललगायत मोफसलका सहरहरूमा पनि यी बाइक उपलब्ध छन् । आफ–रोडको यात्रा गर्न चाहने र स्पोर्टी बाइक हाँक्न मन पराउनेहरूका लागि हन्टर उपयुक्त रोजाइ हुन सक्छ । कम्पनीले दिने सेवा–सुविधामा बेलैमा ध्यान दिएन भने नेपाली बजारमा हन्टर आफैं सिकार बन्न सक्छ ।
हेल्लो शुक्रवार
हेलो टेक
फाइभ जी मोबाइल चिप निर्माता कम्पनी क्वालकमले प्रतिसेकेन्ड एक जीबीसम्म इन्टरनेट स्पिड चल्ने मोबाइल चिप प्रदर्शन गरेको छ । उसले यसलाई फाइभ जी चिप भनेको छ । कम्पनीले यसलाई मोबाइलमा फाइभजी डाटा कनेक्ट गर्ने पहिलो डिभाइस दाबी गरेको छ । अहिलेसम्म फाइभजी नेटवर्क विस्तार नभए पनि यसले फाइभजीका लागि चाहिने स्पिड दिन सक्ने कम्पनीको दाबी छ ।कम्पनीले यसलाई मोबाइलमा प्रयोग गरे फाइभजी स्पिड सपोर्ट गर्न सक्ने बताएको छ । अहिले मोबाइल डाटा कनेक्सनका लागि पछिल्लो प्रविधिका रूपमा फोरजी प्रयोग भइरहेको छ । मोबाइल अपरेटरहरूले अब फाइभजीको परिकल्पना गरे पनि यसले साकार रूप लिइसकेको छैन । यो सन् २०१९ सम्ममा उपलब्ध हुने अनुमान गरिएको छ ।
फेसबुकमा लिंकडिनको फिचर
व्यावसायिक सम्पर्कका लागि लिंकडिन महत्त्वपूर्ण मानिन्छ । फेसबुकले पनि लिंकडिनको जस्तै फिचर परीक्षण गरिरहेको सार्वजनिक भएको छ । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार लिंकडिनमा जस्तै प्रयोगकर्ताले आफ्नो व्यावसायिक अनुभवहरू बायोडाटाजसरी राख्न मिल्ने फिचर फेसबुकले प्रयोग गरिरहेको छ । फेसबुकले यसबारे कुनै जानकारी नदिए पनि केही प्रयोगकर्ताले लिंकडिनमा जस्तै आफ्नो अनुभव र सीपबारेको जानकारी राख्न मिल्ने सुविधा पाएपछि यो खबर बाहिरिएको हो । विभिन्न प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा नयाँ फिचर देखिएको भन्दै सोसलमिडियामार्फत सार्वजनिक गरेका छन् । फेसबुकको अहिले भएको अबाउट सेक्सनमा थप विवरण राख्न मिल्ने सुविधा हुनेछ । यस्तो फिचरले फेसबुकलाई पर्सनलसहित प्रोफेसनल नेटवर्क बनाउन पनि मद्दत मिल्नेछ ।
आइफोन एटमा समस्या
अघिल्लो महिना रिलिज भएको आइफोन एट र एट प्लसका केही ग्राहकहरूले यसमा ब्याट्री फुल्ने समस्या देखिएको गुनासो गरेका छन् । केही ग्राहकले ब्याट्री फुलेर आइफोनको केस नै माथि उठेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । चीनसहित विभिन्न ५ देशमा कम्तीमा ६ वटा फोनमा यस्तो समस्या देखिएका रिपोर्टहरू सार्वजनिक भएको छ । आइफोन निर्माता एप्पलले भने उक्त समस्याबारे अनुसन्धान गर्ने बताएको छ ।सेप्टेम्बर २२ देखि विभिन्न देशमा आइफोन एट र एट प्लसको बिक्री सुरु भएको थियो । अघिल्लो महिना नै सार्वजनिक भएको आइफोन टेन भने आगामी महिनादेखि मात्रै बिक्री सुरु हुनेछ । गत वर्ष ब्याट्री पड्कने समस्या भएपछि सामसुङले बजारबाट सबै नोट सेभेन डिभाइस फिर्ता लिएको थियो ।
हेल्लो शुक्रवार
बेबी क्यान आई होल्ड यु
- हिमेश
अमेरिकी गायक ट्रेसी च्यापम्यानका तस्बिर विरलै पाइन्छ । त्यसैले पनि रहस्यमय मानिएकी उनी कसरी म्युजिक वल्र्डमा हिट भइन् ?
एउटा कारण त देऊ, किन ट्ेरसी च्यापम्यानलाई सुन्दा अझै उत्तिकै मज्जा र खुसी आउँछ ? उनको निकै लोकप्रिय गीतमा पर्छ, ‘गिभ मि वन रिजन ।’ गीतको तिनै शब्दसँग मिलाएर धेरै पश्चिमेली संगीत प्रेमी साँच्चै प्रश्न गर्ने गर्छन्, च्यापम्यानमा के छ त्यस्तो ? अरू जस्तो कुनै न कुनै प्रकारको विवादमा आइरहने गायिका होइनन्, उनी । यी अमेरिकी गायिका तथा गीतकारको चर्चा हुने गर्छ, उनका वजनदार शब्द र त्यसलाई सुहाउने फरक तर विशेष स्वर ।सन् १९८७, अर्थात् ठ्याक्कै तीन दशक अगाडि । बब क्रास्नो त्यति बेला एलेकट्रा रेकर्डका प्रमुख थिए । ‘रक एन्ड रोल हल अफ फेम’ का एक प्रमुख चिन्तक हुन्, उनी । एक वर्ष अगाडि मात्र उनको निधन भएको थियो । च्यापम्यान यिनै क्रास्नोको सम्पर्कमा आउन अगाडि, एक सामान्य अरू जस्तै गायिका थिइन् । न त उनले अरू रेकर्डको ध्यान खिच्न सकेकी थिइन्, न त उनका शब्द र स्वर सुनेर कोही प्रभावित भएका थिए । तर क्रास्नो अपवाद रहे । त्यसैले अहिले पनि भन्ने गरिन्छ, क्रास्नोले साँच्चै च्यापम्यानलाई ‘साइन’ नगरेको भए, कुनै न कुनै बेला अरू कसैले त गथ्र्यो होला नै । नभए, बढीमा उनी गुमनाम हुन्थे । तर तय छ, क्रास्नोले उनलाई नचिनेको भए, च्यापम्यानको कथा अहिले जस्तो सुनिन्छ, त्यो पक्कै त्यस्तै हुने थिएन् । त्यसैले भन्ने गरिन्छ, सन् अस्सीतिर कुनै रेकर्ड कम्पनीले गरेको सबैभन्दा उत्कृष्ट ‘साइनिङ’ कुनै छ भने त्यो च्यापम्यानसँग नै थियो । यो तथ्य त च्यापम्यान आफैं पनि मान्छिन् ।
अहिले त्यसै कारण च्यापम्यानलाई फेरि एकपल्ट सम्झिने मीठो कारण बनेको छ । ‘फास्ट कार’, ‘टकिङ अबाउट अ रिभोलुसन’, ‘बेबी क्यान आई होल्ड यु’, ‘न्यु बिगिनिङ्स’ र ‘टेलिङ स्टोरिज’ च्यापम्यानका अरू चर्चित गीत हुन् । रेकर्ड कम्पनीसँग अनुबन्ध गरेको एक वर्षमै उनको डेब्यु एल्बम पनि सजिलै तयार भयो र त्यो थियो, उनकै नाम ‘ट्ेरसी च्यापम्यान’ । यो वास्तवमै खुबै लोकप्रिय सावित भयो, त्यसैले रह्यो, मल्टी प्लेटिनियम हिट । उनको यो एल्बमलाई ग्रायमीले छ विधामा नोमिनेसनमा राखेको थियो । त्यसमध्ये च्यापम्यान तीन अवार्डमा विजयी रहे र त्यसमा पनि प्रमुख अवार्ड थियो, उत्कृष्ट नयाँ आर्टिस्ट । लगत्तै उनको दोस्रो एल्बम रह्यो, ‘क्रसरोड’ । त्यसयता उनका छ स्टुडियो एल्बम निस्के । उनको चौथो एल्बम ‘न्यु बिगिनिङ’ लाई पनि धेरैले रुचाए । त्यसले पनि उनलाई एक ग्रायमी अवार्ड दिलायो । त्यति बेला उनको उही गीत ‘गिभ मि वन रिजन’ उत्कृष्ट रक गीत बनेको थियो ।दुई वर्ष अगाडि मात्र च्यापम्यानले आपैंm रोजेर ‘ग्रेटेस्ट हिट’ पनि निकालिन् । त्यसमा रहेका गीत अपेक्षाअनुसार लगभग तिनै थिए, तर यसलाई प्रस्तुत गर्नु पछाडिको कारण थियो, नयाँ पुस्तामा तिनै कालजयी गीतलाई फेरि एकपल्ट जीवन्त बनाउने । ‘ग्रेटेस्ट हिट’ एल्बम त्यस्तै सावित भयो पनि । त्यसो त उनका गीतका लागि दोहोर्याएर सुन्नुका कारण भनिरहनु पर्दैन । तर च्यापम्यानको निजी व्यक्तित्वलाई लिएर भने यस्तो आवश्यकता पर्छ । खासमा च्यापम्यान को हुन् त ? विश्वास नहुन सक्छ, उनी आफैंले आफ्नोबारे विरलै बोलेकी छन् । उनका धेरै तस्बिर पाइन्न । जति पाइन्छ, त्यसलाई हेरेपछि प्राय: ले सोध्ने गर्छन्, के यिनै हुन् त च्यापम्यान ? खासमा यो समस्या नै उनको वास्तविक परिचय हो । आफूबारे उनका शब्द नै यस्ता छन्, ‘गीत सुनन, किन चाहियो मेरोबारे अरू धेरै जानकारी ? किनभने गीत र मेरो निजी व्यक्तित्व फरक तथ्य हुन् ।’ गज्जब छ, यो पनि । र, उनको पहिलो एल्बम सुनेका छैनौं भने पनि भन्नै पर्छ, के नै पश्चिमेली गीत सुनेका छौं र ? –एजेन्सीको सहयोगमा