You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

दोस्रो चरण -करिब ५ हजार उम्मेदवार

- कान्तिपुर संवाददाता
काभ्रेमा उम्मेदवारी दर्ता गर्ने क्रममा वाम गठबन्धन । तस्बिर : नगेन्द्र अधिकारी/कान्तिपुर

काठमाडौं– दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ४ हजार ७ सय ८ जनाको उम्मेदवारी परेको छ । ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रका लागि मनोनयन दर्ताको दिन बिहीबार झन्डै पाँच हजारको उम्मेदवारी परेको हो ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ता उत्साजनक र शान्तिपूर्ण ढंगले भएको जनाएको छ । जिल्ला सदरमुकामहरूमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राति अबेरसम्म उम्मेदवारी मनोनयन भएको थियो । प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ तथा प्रदेशसभातर्फ २ हजार ९ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यसमा प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ जना महिला उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ सबैभन्दा कम अछाम–१ मा ३ र सबैभन्दा बढी धनुषा–३ मा २९ जनाको उम्मेदवारी परेको छ । प्रदेशसभातर्फ ३५ जनासम्मको उम्मेदवारी परेको छ । आयोगका प्रवक्ता नवराज ढकालले राति अबेरसम्म उम्मेदवारी दर्ता भइरहेकाले संख्यामा सामान्य हेरफेर हुन सक्ने बताए । निर्वाचन आयुक्त सुधीरकुमार शाहले उम्मेदवारी दर्तामा दलहरूले देखाएको सहभागिता र उत्साहले निर्वाचनप्रतिको सबै आशंका हटेको बताए ।

कांग्रेसका नेता–कार्यकर्ता ।
‘उम्मेदवारी मनोनयनमा दलहरूको उत्साहजन सहभागितसँगै देश पूर्ण रूपमा निर्वाचनमा होमिएको छ,’ उनले भने, ‘यसले संघीय र प्रदेश संसद् निर्माण हुने प्रक्रियाको सुनिश्चितता भएको छ ।’
दोस्रो चरण निर्वाचन मंसिर २१ गते हुँदै छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता भएको थियो । पहिलो चरणमा निर्वाचन हुने उच्च हिमाली तथा पहाडका ३२ जिल्लाका प्रतिनिधिसभातर्फको ३७ निर्वाचन क्षेत्रका लागि ३ सय २२ र प्रदेशसभाको ७४ क्षेत्रका लागि ४ सय ८१ उम्मेदवारी परेको थियो । प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० निर्वाचन क्षेत्र छन् । दुवै सभाको निर्वाचन एकैसाथ तर दुई चरणमा हुन
लागेको हो ।
अधिकांश दलका अध्यक्षसहित शीर्ष नेताहरूले दोस्रो चरणमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा, एमाले अध्यक्ष केपी ओलीले झापा–५, माओवादी अध्यक्ष पुष्पकमल दाहालले चितवन–३, राजपा अध्यक्ष महन्थ ठाकुरले महोत्तरी–३, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–२ र राप्रपा अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट उम्मेदवारी दिएका छन् । दाहाल, ठाकुर र यादवले यसअघिका निर्वाचनमा उम्मेदवारी दिएको भन्दा यसपटक जिल्ला फरक पारेका छन् । राजपा अध्यक्ष ठाकुरको नाम समानुपातिक सूचीमा राखिएको थियो तर पछि हटाएर उनी प्रत्यक्षबाट उठेका हुन् ।
दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरूमा प्रदेश १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट तथा प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर छन् । यस्तै प्रदेश ४ का नवलपरासी (बर्दघाट सुस्तापूर्व), तनहुँ, कास्की, स्याङजा र पर्वत, प्रदेश ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके र बर्दिया छन् । प्रदेश ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि दोस्रो चरणमा निर्वाचन हुने हो । कुल १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदातामध्ये दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा १ करोड २१ लाख ९८ हजार ८ सय ५२ मतदाता छन् ।
प्रतिनिधिसभातर्फ सबैभन्दा बढी काठमाडौंमा १०, मोरङमा ६, झापा, रुपन्देही र कैलालीमा ५/५ वटा निर्वाचन क्षेत्र छन् । प्रदेश २ का ८ वटै जिल्लामा ४/४ वटा निर्वाचन क्षेत्र छन् । त्यसबाहेक सुनसरीमा पनि ४ निर्वाचन क्षेत्र छन् । ललितपुर, चितवन, कपिलवस्तु, कास्की, दाङ, बाँके र कञ्चनपुरमामा ३/३ वटा निर्वाचन क्षेत्र छन् । २ वटा निर्वाचन क्षेत्र हुने जिल्लामा उदयपुर, इलाम, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, तनहुँ, स्याङजा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत, दैलेख तथा अछाम छन् । दोस्रो चरणमा निर्वाचन हुने अन्य बाँकी जिल्लामा १/१ वटा प्रतिनिधिसभाका निर्वाचन क्षेत्र छन् । हरेक जिल्लामा जति प्रतिनिधिसभाका निर्वाचन क्षेत्र छन्, त्यसको दोब्बर संख्यामा प्रदेशसभाका निर्वाचन क्षेत्र छन् ।

 

गृह पृष्ठ

बग्रेल्ती बागी

वाम गठबन्धन
काठमाडौं (कास)– २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएको नेपाल मजदुर किसान पार्टीलाई भक्तपुर १ छाड्न वाम गठबन्धन तयार थियो । तर अन्तिम समयसम्म पनि उम्मेदवारी नदिएको गठबन्धनले तल्लो कमिटीको दबाब थेग्न सकेन । माओवादीका मिलन सुवाल उम्मेदवार बनिछाडे । बृहत् वामपन्थी गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रले नेमकिपालाई समेट्न सकेनन् ।
०४८ पछिका सबै चुनाव जितेका नारायणमान बिजुक्छे उम्मेदवार नै बनेनन् । ‘नयाँ पुस्तालाई अवसर दिन’ भन्दै बिजुक्छेले निवर्तमान सांसद प्रेम सुवाललाई उम्मेदवार बनाए । पहिलोपटक देशव्यापी गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रको नेतृत्वलाई तल्लो कमिटीसम्म चित्त बुझाउन निकै सकस पर्‍यो । कतिपय क्षेत्रमा आफ्नै पार्टीविरुद्ध बागी उम्मेदवारी परेको छ । काठमाडौं २ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध साँखुका एमाले नेता एलपी श्रेष्ठले बागी उम्मेदवारी दिएका छन् । एलपी प्रदेशसभाको टिकटका दाबेदार थिए ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने बागी झेल्नुपरेको छैन ।
तर, एमाले उपाध्यक्ष वामदेव गौतमकै क्षेत्रमा पनि असन्तुष्टि देखिएको छ । बर्दिया(१ को प्रदेशतर्फ एमालेकै नेता खडगबहादुर खडकाले बागी उम्मेदवारी दिए । सुरुमा गौतमले नै आफूलाई टिकट दिने आश्वासन दिएको, तर पछि आफंैले लिएकामा असन्तुष्टि पोख्दै उनले बिहीबार अबेर उम्मेदवारी दिएका हुन् ।
सिन्धुली २ मा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता हरिबोल गजुरेलविरुद्ध केन्द्रीय सदस्य रामकुमार पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी क्षेत्र नं २ को प्रदेश ‘ख’ बाट आकांक्षी थिए । क्षेत्र १ मा एमालेकै निवर्तमान सांसद गणेश पहाडीविरुद्ध प्रतिनिधिसभा सदस्यका लागि एमालेका नेता रामकुमार कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा माओवादी नेता टेकबहादुर बस्नेतविरुद्ध पोलिटब्युरो सदस्य उमाकान्त शर्माले तथा प्रदेश ‘क’ मा एमालेका गुलावजंग शाहविरुद्ध माओवादीका पूर्वजिल्ला इन्चार्ज भीमप्रसाद शर्मा र ‘ख’ मा एमालेका निवर्तमान सांसद प्रकाश ज्वालाविरुद्ध माओवादीका जितबहादुर पुनले उम्मेदवारी दर्ता गराए ।
बारा ३ ‘क’ मा माओवादीकी ज्वालाकुमारी साहविरुद्ध एमालेका भरत खडकाले बागी उम्मेदवारी दिएका छन् भने रुपन्देही ५ को ‘क’ मा एमालेका भूमिश्वर ढकालविरुद्ध एमालेकै मीनप्रसाद घिमिरे बागी उठेका छन् ।
उम्मेदवारी चयनमा दुईदलीय गठबन्धनबीच लामो गृहकार्य भए पनि कतिपय क्षेत्रमा उम्मेदवार परिवर्तन भए । काठमाडौं(८ मा माओवादीका उमेश स्थापितलाई दिएको टिकट माओवादीले नै फिर्ता गरेपछि एमालेका जीवनराम श्रेष्ठ मैदानमा उत्रिए । देशभर ६०/४० को भागबन्डा गरेका एमाले र माओवादीले काठमाडौंमा ७/३ को भाग लगाएका हुन् । माओवादीले काठमाडौंमा तीनसहित ललितपुर र भक्तपुरमा एक/एक सिटमा प्रतिनिधिसभाका लागि उम्मेदवार बनाएको छ । एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा टिकटको रस्साकस्सी भयो । खासगरी क्षेत्र २ मा अग्नि खरेल र पवित्रा निरौला खरेलको टिकटको टुंगो अन्तिम समयमा मात्रै लाग्यो । पवित्राले टिकट बाजी मारिन् ।
कांग्रेससँग लोकतान्त्रिक गठबन्धन गरेको राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन झापा ३ बाट एमाले र माओवादीको समर्थनमा साझा उम्मेदवार बने । मेचीका अरू जिल्लामा राप्रपाले एमाले(माओवादी गठबन्धनलाई सघाउने बताइएको छ ।
प्रतिनिधिसभामा एमालेको चिह्नमा मधेसकेन्द्रित दलबाट अलग भएका नेताहरू पनि लडै छन् । कुनै समय कम्युनिस्ट राजनीति गरेका हृदयेश त्रिपाठीसहित वृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र, जगदीश गुप्ता सूर्य चिह्नमा चुनाव लडेका छन् । मधेसकेन्द्रित दलबाटै हालै प्रवेश गरेका ओमप्रकाश यादव ‘गुल्जारी’ रुपन्देही ४ बाट चुनाव लडेका छन् । फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री भइसकेका अब्दुल रजाक रौतहट २ बाट उम्मेदवार भएका छन् । चुनावका मुखमा एमाले प्रवेश गरेकी गायिका कोमल वलीले पनि टिकट पाइनन् । टिकट नपाएपछि उनी दाङ ३ बाट स्वतन्त्र उम्मेदवार भएकी छन् ।
गठबन्धनका कारण सांसद भइसकेका धेरै नेता प्रदेशसभामा खुम्चिएका छन् भने कतिपयलाई क्षेत्र व्यवस्थापन हुन सकेन । एमाले उपाध्यक्ष युवराज ज्ञवाली, पूर्वमन्त्रीहरू भानुभक्त जोशी, आनन्द पोखरेल, युवा नेताहरू ठाकुर गैरे, खिमलाल भट्टराई, माधव ढुंगेल तथा माओवादी केन्द्रका रामबहादुर थापा, लेखनाथ न्यौपाने, हिमाल शर्मा, गणेशमान पुन, रमेश मल्लले टिकट पाएनन् । ‘गठबन्धनका कारण कतिपय प्रतिभाशाली नेता छुटेको पक्कै हो । पार्टीले त्यसको उचित व्यवस्थापन गर्नेबारे नेतृत्व तहमा छलफल भएको छ,’ एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने ।

 

कांग्रेस
काठमाडौं (कास)– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै पूर्वप्रतिद्वन्द्वी गोविन्दराज जोशीका कारण सकसमा परेका छन् । पौडेलविरुद्ध तनहुँ १ मा पूर्वसहमहामन्त्रीसमेत रहेका जोशीले बागी उम्मेदवारी दिएका छन् । दलबलसहित जोशीले उम्मेदवारी दर्ता गराएपछि पौडेलका लागि टाउको दुखाइ मात्रै भएको छैन, चुनौती नै खडा गरेको छ ।
भ्रष्टाचार मुद्दाका कारण राजनीतिबाट किनारा लागेका जोशीले पार्टीसँग विद्रोह गरेर किन उम्मेदवारी दिए त ? दुवै नेतालाई नजिकबाट अध्ययन गरेका एक
नेताको भनाइमा पौडेल र जोशीका लागि यो आवधिक चुनाव उमेर र क्रियाशीलता दुवै हिसाबले अन्तिम भएकाले पनि यस्तो हुन पुगेको हो ।
पौडेल ०४८ सालदेखि निरन्तर सांसद हुने चार नेतामध्येमा पर्छन् । जोशी भ्रष्टाचार मुद्दा लागेपछि निष्क्रिय बने । पहिलो संविधानसभा निर्वाचनमा उनी पराजित भए । दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले उम्मेदवार बनाएन । उनको क्षेत्रमा शंकर भण्डारी विजयी भए । उनै शंकर अहिले क्षेत्र २ मा उम्मेदवार बनेका छन् । पौडेलप्रति अर्को असन्तुष्टि तनहुँकै क्षेत्र २ का कार्यकर्ताले पनि गरेका छन् ।
आफ्नै क्षेत्रका युवा नेता प्रदीप पौडेललाई उम्मेदवार नबनाएर भण्डारीलाई लगेको भन्दै क्षेत्र २ का सभापति किसान गुरुङसहित ५५ स्थानीय नेता तथा कार्यकर्ताले पौडेललाई सम्बोधन गर्दै राजीनामा दिएका छन् । कास्कीमा पनि व्यवसायी विन्दुकुमार थापालाई उम्मेदवार बनाएको विरोधमा बागी उम्मेदवारी परेको छ । कास्कीको निर्वाचन क्षेत्र २ ‘ख’ मा थापाविरुद्ध नरेशशंकर पालिखेले बागी उम्मेदवार दिएका हुन् । थापा केही समयअघि मात्रै कांग्रेसमा क्रियाशील भएका हुन् ।
गणेश लामाको उम्मेदवारी
कांग्रेसको उम्मेदवार चयनमा अकूत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका ‘गुन्डा नाइके’ भनेर चिनिने गणेश लामा पनि परेका छन् । कांग्रेसले उनलाई काभ्रे क्षेत्र १ (ख) मा उम्मेदवार बनाएको हो । विवादका बाबजुद कांग्रेस संसदीय समितिको बैठकले उनलाई उम्मेदवार बनाएको थियो । तत्कालीन फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रहेका लामालाई नेता विजय गच्छदारको दबाबमा उम्मेदवार बनाइएको हो । लामा ०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट काभ्रे २ बाटै उम्मेदवार भएका थिए ।
टिकट परिवर्तन
दुई दिनअघि कास्की १ (क) बाट तिलक रानाभाटलाई उम्मेदवार बनाउने निर्णय बिहीबार बिहान उल्टाई जीवन परियारलाई दिइएको छ । म्यानपावर व्यवसायी रानाभाटलाई दुई दिनअघि उम्मेदवार बनाउने निर्णय संसदीय समितिले गरेको थियो । उनीविरुद्ध कानुनमन्त्रीसमेत रहेका कास्की १ का उम्मेदवार यज्ञबहादुर थापासहितका स्थानीय कार्यकर्ता उत्रिएपछि नेताहरूले उम्मेदवार परिवर्तन गरेका हुन् । परियार यसअघि समानुपातिकबाट सांसदसमेत थिए । यस्तै, बाँके २ मा कांग्रेसले राप्रपालाई छाड्ने भएपछि त्यहाँका नेता तथा कार्यकर्ताबीच असन्तुष्टि बढेको छ । उक्त क्षेत्रबाट कांग्रेसका तत्कालीन नेता सुशील कोइराला चुनाव लड्दै आएका थिए । कांग्रेसको समर्थनमा राप्रपा नेता सुधांशु कोइराला उम्मेदवार बनेका छन् ।
पूर्वसभामुख ढुंगाना उम्मेदवार
कांग्रेस संसदीय समितिले सबैलाई चकित पार्दै उम्मेदवारको चर्चामै नरहेका पूर्वसभामुख दमननाथ ढुंगानालाई भक्तपुर २ को उम्मेदवार बनाएको छ । उनको नाम क्षेत्रीय समिति र जिल्लाबाट समेत सिफारिस भएको थिएन । पूर्वसांसद रामेश्वर ढुंगेल र भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाबीच उम्मेदवारका लागि प्रतिस्पर्धा चलिरहेका बेला कांग्रेस नेतृत्वले ढुंगानालाई उम्मेदवार बनाएको हो । ०४८ सालको चुनावमा काठमाडौं २ बाट निर्वाचित ढुंगाना त्यही अवधिमा सभामुख बनेका थिए । ०५१ को मध्यावधि चुनावमा एमालेकी तत्कालीन नेत्री विद्यादेवी भण्डारीसँग पराजय भोगेपछि उनी राजनीतिबाट निष्क्रियजस्तै थिए । भण्डारी हाल राष्ट्रपति छिन् । ‘एकाएक ढुंगाना कसरी उम्मेदवार भए, हामीलाई आश्चर्य लागेको छ,’ संसदीय समितिकै एक सदस्यले कान्तिपुरसँग भने, ‘हिजोसम्म उहाँको नाम चर्चामा थिएन । अचानक नेतृत्वबाटै उहाँको नाम आयो ।’ ढुंगानाले चाहना राखेकै कारण उम्मेदवार बनाइएको स्रोतले बतायो । उनको उम्मेदवारीलाई लिएर भक्तपुर कांग्रेसभित्र तीव्र असन्तुष्टि चुलिएको छ ।
महिला ५ जना मात्रै
दोस्रो चरणको चुनावमा पनि कांग्रेसले महिला उम्मेदवार नगन्य उठाएको छ । प्रतिनिधिसभामा ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने कानुनी व्यवस्था रहे पनि प्रत्यक्षतर्फ कांग्रेसले ७ जनालाई मात्र उम्मेदवार बनाएको छ । दोस्रो चरणको चुनावमा कांग्रेसबाट ५ महिला उम्मेदवार भएका छन् भने पहिलो चरणको चुनावमा २ जना मात्रै उम्मेदवार छन् । कैलाली १ बाट ईश्वरी न्यौपाने, मकवानपुर २ बाट महालक्ष्मी उपाध्याय (डिना), काठमाडौं ३ बाट अम्बिका बस्नेत, महोत्तरी २ बाट किरण यादव र तेह्रथुमबाट सीता गुरुङलाई उम्मेदवार बनाइएको छ । यसअघि बागलुङ १ बाट चप्पादेवी
खड्का र खोटाङबाट सरस्वती बजमयीलाई उम्मेदवार बनाइएको छ । प्रत्यक्ष चुनाव लड्न समानुपातिक सूचीमा नबसेकी झापाकी सरिता प्रसाईं अन्तिममा उम्मेदवार हुन पाइनन् । कांग्रेस नेता कुलबहादुर गुरुङसमेत यसपटक उम्मेदवारमा अटाएनन् । उनलाई समानुपातिक सूचीमा राखिएको थियो । तर, दुईपटक समानुपातिकबाट सांसद भइसकेकालाई समावेश नगर्ने नीति पार्टीले बनाएपछि अन्तिममा उनी ‘आउट’ भए । स्याङ्जा १ बाट सिफारिस भएका युवा नेता धनराज गुरुङ पनि यसपटक उम्मेदवार बन्न पाएनन् । उनलाई प्रदेशसभामा उम्मेदवार बनाउन खोजिएको थियो । नेताहरूले मुख्यमन्त्रीको दाबेदारका रूपमा अघि बढाउने वचनसमेत दिएका थिए । तर मुख्यमन्त्री बनाउने आश्वासनमा पत्यार नलागेका कारण गुरुङ प्रदेशसभामा जान मानेनन् । ०४८ सालदेखि महिला नेत्रीमा स्थापित कमला पन्त पनि यसपटक बाहिरिएकी छन् । निर्वाचन क्षेत्र नमिल्ने भएपछि उनलाई समानुपातिक सूचीमा राखिएको थियो । समानुपातिकबाट दुई पटकसम्म सांसद भएकै कारण उनी पनि अन्तिममा ‘आउट’ भइन् ।
अरू पार्टीबाट आएका चार जना उम्मेदवार
एमाले, माओवादी केन्द्र, राजपा तथा संघीय फोरमबाट कांग्रेस आएका चार नेताले पार्टी प्रवेश गरेको दुई साता नबित्दै प्रतिनिधिसभाको उम्मेदवार बन्ने अवसर पाएका छन् । एमालेका पूर्वसांसद मोहनसिंह राठौर कैलाली २, माओवादी केन्द्रका पूर्वसांसद शम्भुलाल श्रेष्ठ सर्लाही १, राजपाका पूर्वसांसद जंगीलाल
राय सर्लाही २ तथा फोरमका पूर्वसांसद अभिषेकप्रताप साहलाई कपिलवस्तु ३ बाट कांग्रेसले उम्मेदवार बनाएको छ ।
धेरै उम्मेदवार कांग्रेसका
कांग्रेसले प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ५७ क्षेत्रमा उम्मेदवार उठाएको छ । कांग्रेसले राप्रपालाई ३, राप्रपा (प्रजातान्त्रिक) लाई ४ र संघीय समाजवादी फोरमलाई १ क्षेत्र छाडेको छ । एमालेले ९७ र माओवादी केन्द्रले ६१ क्षेत्रमा मात्रै उम्मेदवार उठाएका छन् ।
ठाकुर र यादवविरुद्ध पनि बागी
राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । महोत्तरी ३ बाट उम्मेदवारी दिएका ठाकुरका विरुद्ध सोही पार्टीका निवर्तमान सांसद चन्द्रेश्वर झाले बागी उम्मेदवारी दिएका छन् । उनी ०७० को संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका थिए । केही समयअघि मात्रै उनी राजपा प्रवेश गरेका थिए । पार्टीले ‘टिकट’ नदिएपछि उनी स्वतन्त्र उम्मेदवार भएका हुन् । सप्तरी २ मा चुनाव लडेका यादवविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । राजपा र फोरमबीच प्रदेश २ मा चुनावी तालमेल भएको थियो । ठाकुरले तालमेलको विरोध गर्दै उम्मेदवारी दिएका हुन् ।

 

गृह पृष्ठ

वाम गठबन्धनको घोषणापत्र - ‘१० वर्षमा गरिबीमुक्त मुलुक’

- बालकृष्ण बस्नेत,कृष्ण आचार्य

काठमाडौ– ‘गाउँदेखि केन्द्रसम्म वामपन्थी सरकार’ भन्ने मूल नारा राख्दै एमाले–माओवादी केन्द्रसहितको वाम गठबन्धनले संयुक्त चुनावी घोषणापत्र तयार गरेको छ । आगामी १० वर्षभित्र गरिबीको रेखामुनि रहेका सबैलाई मुक्त गर्ने महत्त्वाकांक्षी लक्ष्य वामपन्थी गठबन्धनले बोकेको छ । भूकम्प र नाकाबन्दीपछि करिब २५ प्रतिशत हाराहारीमा रहेको गरिबीलाई दस वर्षभित्रै निर्मूल पार्ने प्रतिबद्धता गठबन्धनले गरेको छ । दुई दिनअघि वाम गठबन्धनको प्रमुख प्रतिस्पर्धी दल कांग्रेसले १० वर्षमा गरिबी ३ प्रतिशतभन्दा कममा सीमित गर्ने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ । हाल गरिबीको रेखामुनि २१ प्रतिशत जनसंख्या रहेको आधिकारिक तथ्यांक छ । भूकम्प र नाकाबन्दीपछि वृद्धि भई करिब २५ प्रतिशत हाराहारी पुुगेको अनुमान गरिएको छ ।
‘आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्‍याइनेछ । निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई सो अवस्थाबाट मुक्त गरिनेछ,’ केही दिनमै सार्वजनिक गर्ने तयारी रहेको वाम घोषणापत्रमा भनिएको छ, ‘१० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्र विकासको थालनी गरिनेछ । यस शताब्दीको अन्त्य अर्थात् २०९९ सालसम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र विकासका योजना र कार्यक्रम अगाडि बढाइनेछ ।’
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट वामपन्थी शक्तिहरूको अत्यधिक बहुमतको सरकार निर्माण हुने दाबी घोषणापत्रमा छ । ‘मुलुकलाई राजनीतिक स्थिरता र समृद्धिको दिशामा गुणात्मक ढंगले अघि बढाउने अवसर हो,’ जनमतलाई आफूतिर तान्नुपर्ने कारण राख्दै त्यसमा भनिएको छ, ‘हामीले इमानदारी र क्षमतापूर्वक राष्ट्र र जनताको नेतृत्व गर्दै स्वाधीन, समृद्ध, समुन्नत एवं समाजवादउन्मुख नेपाल निर्माणको उद्देश्य पूरा गर्न सक्छौं ।’
नेपाली कम्युनिस्ट आन्दोलनका मूल प्रतिनिधि संस्था एमाले र माओवादी केन्द्र रहेको र निकट भविष्यमा एउटै एकीकृत पार्टीमा रूपान्तरित गर्ने तयारी रहेको घोषणापत्रमा उल्लेख गरिएको छ । दुई पार्टीले मंसिर १० र २१ गते हुने चुनावमा तालमेल गर्ने र चुनावपछि एकीकरण गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । कांग्रेस र मधेसकेन्द्रित दलहरूले राष्ट्रियता र स्वाधीनताका पक्षमा काम नगर्दा मुलुक अधोगतितिर लागेको दाबी उनीहरूको छ ।
संयुक्त गठबन्धनले आफूप्रति मत हाल्नुपर्ने प्रमुख ९ आधार तय गरेका छन् । त्यसमा पहिलो, राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र हितको रक्षाका लागि वामपन्थीको बहुमतको सरकार आवश्यक रहेको उल्लेख छ । दोस्रोमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने संघर्षको मुख्य नेतृत्व र वाहक शक्ति कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू भएकाले परिवर्तनको मूल मर्म एवं भावसहित संविधान पालना गर्न र गराउन पनि संसद् तथा सरकारमा वामपन्थीहरूको बहुमत आवश्यक पर्ने दाबी छ । नेपाली स्वरूपको लोकतन्त्रको प्रयोगबाट ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’ र ‘समाजवादउन्मुख’ सामाजिक–आर्थिक रूपान्तरणलाई सफल पार्न कम्युनिस्ट तथा वामपन्थीबाट मात्र सम्भव रहेको उल्लेख गर्दै तेस्रो बुँदामा भनिएको छ, ‘नेपालको सर्वोपरि विकासका लागि सबै राष्ट्रिय स्रोत र साधनलाई अत्यधिक रूपमा उपयोग र परिचालन गर्न पनि वामपन्थीको नेतृत्व अपरिहार्य छ ।’
एकैपटक सबै क्षेत्रमा तीव्र आर्थिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध नेपालको निर्माण गर्न, रोजगारी र उच्च जीवनस्तर हासिल गर्न, जनताको आशा एवं आकांक्षा पूरा गर्न वामपन्थी शक्तिबाहेक अरूबाट सम्भव नभएको उल्लेख गर्दै अर्को बुँदामा भनिएको छ, ‘छोटो समयमा सरकारको नेतृत्व गर्ने अवसर पाउँदा समेत हामीले आफूलाई सही साबित गरेका छौं ।
त्यसैले, समृद्ध नेपाल निर्माणका लागि वामपन्थीको बहुमत आवश्यक छ ।’ वितरणमुखी कार्यक्रम ल्याउने भनेर आरोप लाग्ने गरेको एमालेले त्यस्तै प्रकृतिका कार्यक्रमलाई थप निरन्तरता दिने वाचा गरेको छ । हाल मासिक दुई हजार रुपैयाँका दरले वृद्धवृद्धा तथा अपांगलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार रुपैयाँ पुर्‍याउने जनाएको छ । ‘६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सबै किसिमका यातायात भाडामा २५ प्रतिशत र ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।
२०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण २०७६ सालभित्र सक्ने अर्को महत्त्वाकांक्षी लक्ष्य अगाडि सारिएको छ । बाढीपहिरोमा परी घरबार गुमाएका र जनधनको क्षति भएका तराई–मधेस तथा पहाडी जिल्लामा पनि पुनर्निर्माण तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । ‘घर क्षति भएका प्रत्येक परिवारलाई घर निर्माणका लागि तीन महिनाभित्र ४ लाख अनुदान र ३ लाख दीर्घकालीन निब्र्याजी ऋणको व्यवस्था गरिनेछ, घडेरीसमेत गुमाएका परिवारका लागि घर बनाउन घडेरी व्यवस्था गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।
प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लाई भने केही कडाइ गर्ने संकेत घोषणापत्रमा देखिन्छ । ‘नेपालमा राष्ट्रिय पुँजीको आकार र सामथ्र्य अझै पनि सानो तथा कमजोर रहेकाले राष्ट्रिय औद्योगिकीकरण र गुणात्मक आर्थिक वृद्धिका निम्ति आन्तरिक पुँजी लगानी मात्र अपर्याप्त हुनेछ । त्यस अवस्थामा ठूला पूर्वाधार निर्माण र राष्ट्रिय प्राथमिकताका आयोजनाहरूमा विदेशी लगानी भित्र्याउन आवश्यक छ,’ घोषणापत्रमा भनिएको छ, ‘तर, बाह्य लगानीमा मात्र भर पर्नाले वा अनियन्त्रित रूपमा प्रवेश गराउनाले देशको अर्थतन्त्रमा गम्भीर नकारात्मक असर पर्ने खतरा रहन्छ । तसर्थ, आन्तरिक र बाह्य लगानीमा सन्तुलनको नीति लिँदै बाह्य लगानीलाई उपयुक्त वातावरण बनाई विधिसम्मत ढंगले आमन्त्रण गरिनेछ ।’
आर्थिक विकासलाई तीव्र रूपमा अघि बढाउन जलस्रोत तथा ऊर्जामा राष्ट्रिय अभियान, आधुनिक प्रविधिसहित सडक, रेल, विमानस्थल, नहरलगायत भौतिक पूर्वाधार विकास, कृषि क्षेत्रको आधुनिकीकरण, पर्यटन तथा उत्पादनशील उद्योग क्षेत्रको विकास, मानव संसाधनको विकासलाई योजनाबद्ध ढंगले अघि सारिएको छ । ‘व्यापक रूपमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन उद्योगहरूको विकास गरिनेछ । उत्पादकत्व र उत्पादन वृद्धि, रोजगारी सिर्जना, आर्थिक परनिर्भरता र व्यापार घाटा समाप्त पार्ने वाणिज्य नीति अवलम्बन गरिनेछ,’ घोषणापत्रमा भनिएको छ । दुई वर्षभित्रै नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अन्डा र दूधमा आत्मनिर्भर बनाई पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्‍याइने उल्लेख छ ।
‘विभिन्न क्षेत्रमा कृषि बजारमा आधारित आधुनिक औद्योगिक सहर विकास गरिनेछ । ग्रामीण क्षेत्रका जनतालाई यिनै सहरमा पुन:स्थापित गरिनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘बजारमा बिक्री हुन नसकेको व्यावसायिक उत्पादन सरकारले खरिद गरी जैविक विद्युत् उत्पादनमा प्रयोग गर्नेछ ।’ १० वर्षमा नेपाललाई प्रांगारिक मुलुक घोषणा गरिने उल्लेख छ । ‘पाँच वर्षमा सम्पूर्ण सिंचाइयोग्य कृषि भूमिमा आधुनिक सिंचाइ प्रणाली लागू गरिनेछ । आगामी पाँच वर्षमा सबै उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र र सडकमा चौबिसै घण्टा पर्याप्त विद्युत् उपलब्ध गराइनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘आगामी तीन वर्षमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारीसाधन मात्र उपयोग गर्ने कार्ययोजना लागू गरिनेछ । पहिलो वर्षदेखि सुरु गरेर दोस्रो वर्षमा सम्पन्न हुने गरी काठमाडांैमा पेट्रोलियम वाहनहरूलाई विद्युतीय वाहनबाट प्रतिस्थापन गरिनेछ ।’
बिजुलीबाट वञ्चित घरपरिवारलाई दुई वर्षभित्र उपलब्ध गराउने घोषणापत्रमा वाचा गरिएको छ । ‘आगामी १० वर्षमा जल, जैविक, सौर्य, वायु, फोहोर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट २० हजार मेगावाट विद्युत् उत्पादन गरिनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘आन्तरिक खपतबाट बचेको ऊर्जा भारत, चीन र बंगलादेशमा निर्यात गर्न विशेष योजना कार्यान्वयन गरिनेछ ।’ त्यसका लागि १० वर्षभित्रै कर्णाली चिसापानी, बूढीगण्डकी, पश्चिम सेती, नलसिंह गाड, उत्तर गंगा, नौमुरे, माथिल्लो झिम्रुक, सुनकोसी–१, सुनकोसी–२, तमोर, तामाकोसी–३ लगायत परियोजना सम्पन्न गरिने उल्लेख छ । हाल नेपाली सेनाले निर्माण अघि बढाएको काठमाडौं–तराई द्रुतमार्ग चार वर्षभित्र सम्पन्न गर्ने दाबी गरिएको छ । पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र ६/८ लेनमा स्तरोन्नति, तीन वर्षमा हुलाकी राजमार्गलाई ४/६ लेनमा स्तरोन्नति गर्ने जनाइएको छ ।
पाँच वर्षमा पशुपतिनगर, चुलाचुली, दमक, धरान, चतरा, त्रियुगा, कमलामाई, हेटांैडा, भरतपुर, देवघाट, रामपुर, रिडी, सन्धिखर्क, प्यूठान, दाङ घोराही, सुर्खेत, बाबियाचौर, सुँगुरखाल, अमरगढी र पूर्णागिरिसम्म समेट्ने गरी ४/६ लेनको भित्री तराई औद्योगिक करिडोर राजमार्ग निर्माण गर्ने जनाएको छ । पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथमा रेल सञ्चालन गरिने उल्लेख छ । ‘काठमाडौंलगायत मुख्य सहरमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिनेछ । स्थानीय तहमा चक्रपथको सम्भाव्यता अध्ययन गरी निर्माण आरम्भ गरिनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘राजधानीलाई छिमेकी मुलुकका रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रसँग द्रुतमार्गद्वारा जोडिनेछ ।’
१० वर्षभित्र सम्पन्न हुने गरी जलमार्ग, पदमार्ग, केबुलकार तथा घोडेटो र गोरेटो बाटो निर्माण, विस्तार एवं स्तरोन्नतिका बृहत् परियोजना सञ्चालन गर्ने वाम गठबन्धनले जनाएको छ । ‘पाँच वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिनेछ । दुई वर्षभित्र भैरहवा र तीन वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरिनेछ,’ घोषणापत्रमा उल्लेख छ, ‘कोसी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र बाह्य जलमार्गका सम्भाव्यता अध्ययन गरिनेछ । उच्च बाँधयुक्त जलाशयमा जलमार्गको विकास गरिनेछ ।’
भूपरिवेष्टित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनको उद्देश्य सार्वजनिक गरिएको छ । १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने जनाइएको छ । सबै प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गरिने र विद्यमान औद्योगिक क्षेत्रलाई आधुनिकीकरण गरी १० वर्षभित्र १० लाख व्यक्तिले रोजगारी प्राप्त गर्ने वातावरण मिलाउने दाबी गरिएको छ । ‘पाँच वर्षभित्र मुस्ताङमा युरेनियम उत्खनन र प्रशोधन गरिनेछ । आगामी पाँच वर्षभित्र दैलेखलगायत स्थानमा फेला परेको पेट्रोलियम र नवलपरासीमा रहेको फलाम खानी उत्खनन, प्रशोधन र विकास गरिनेछ,’ घोषणापत्रमा भनिएको छ । सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरी गरिबीको रेखामुनि रहेका जनताका लागि बिमा रकमको ५० प्रतिशत सरकारले भुक्तानी गरिदिने घोषणा छ । ‘१५ वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनेछ,’ घोषणापत्रमा भनिएको छ । एमालेले निकै पहिलेदेखि नाराका रूपमा अघि सारेको गाउँटोलमा सहकारी घरघरमा रोजगारीलाई पुन: दोहोर्‍याएको छ ।
शीर्ष नेताहरूको केही दृष्टिकोणसमेत समावेश गरी घोषणापत्रलाई सोमबार सार्वजनिक गरिने एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालले बताए ।
अरू दलप्रति एमाले हेराइ
गठबन्धनले कांग्रेसलाई आत्मसमर्पणवादी शक्तिका रूपमा लिएको छ । लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको र स्थापनाकालमा कतिपय सामाजिक–आर्थिक सुधारका कदम चाले पनि राष्ट्रियतालाई सुदृढ गर्ने विषयमा सकारात्मक नदेखिएको उसको निष्कर्ष छ । ‘सामन्ती निरंकुशतन्त्र र वैदेशिक एकाधिकार पुँजीवादसँग सम्झौता र आत्मसमर्पण कांगेसको मुख्य नीति रहँदै आएको छ,’ घोषणापत्रमा भनिएको छ ।
सत्तामा रहँदा कांग्रेसले कैयौंपटक विदेशी हस्तक्षेपलाई निम्त्याएको दाबी वाम गठबन्धनको छ । ‘विदेशीका सामु आत्मसमर्पण गरेको छ र कैयौंपटक जनविरोधी काम पनि गरेको छ । बहुमत प्राप्त गरेको समयमा निजीकरणका नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरू समाप्त गरेको छ,’ त्यसमा छ, ‘नवउदारवादको पृष्ठपोषण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर तुल्याएको छ । भ्रष्टाचारलाई संरक्षण र संस्थागत गर्ने काम गरेको छ ।’ सदैव राष्ट्रिय सहमति र एकताको विरोधी काम गर्दै आएकाले राष्ट्र निर्माण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना कांग्रेससँग नदेखिएको दाबी उसको छ ।
राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले तराई–मधेसलाई मुख्य कार्यथलो बनाए पनि स्थानीय तहको अधिकारका विपक्षमा उभिएको भनी आलोचना गरिएको छ । राजपालाई राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषण गर्ने, राष्ट्रिय स्वाधीनता, राष्ट्रहित, सामाजिक सद्भाव एवं राष्ट्रिय एकतालाई कमजोर पार्ने र संघीयताको कुरा गरे पनि स्थानीय तहको स्वशासनको अधिकारका विपक्षमा उभिएको भनी घोषणापत्रमा आरोप छ ।
तुलनात्मक रूपमा संघीय समाजवादी फोरमलाई कम आलोचना गरिएको छ । उक्त पार्टीलाई ‘राष्ट्रिय स्तरमा विस्तारित हुन प्रयासरत तराई–मधेस आधारित पार्टी’ को संज्ञा दिइएको छ । ‘यसले जातीय र क्षेत्रीय मुद्दालाई रणनीतिका रूपमा अगाडि सारेको छ । यसका नीति, काम र व्यवहार सामाजिक सद्भावलाई कमजोर पार्ने किसिमका छन् । यसको विकासक्रमलाई नजिकबाट हेर्दै यसले अवलम्बन गर्ने नीति र कामका आधारमा यसप्रतिको नीति निर्धारण गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ । राप्रपालाई राजतन्त्रात्मक व्यवस्थाका समर्थक तथा त्यसलाई पुन:स्थापना गर्न चाहने पूर्वपञ्चहरूले निर्माण गरेको पार्टी भएको आरोप लगाइएको छ । राप्रपाका कतिपय नेतामा देशभक्तिको भावना पाइए पनि मूलत: यो अवसरवादी, ढुलमुले र पश्चगामी चरित्रको पार्टी रहेको दाबी छ ।
देशमा केही अन्य साना कम्युनिस्ट समूह अस्तित्वमा रहे पनि उनीहरू जडसूत्रीय, संकीर्णतावादी, आत्मकेन्द्रित र गुटवादी प्रवृत्तिका भएको उल्लेख छ ।

Page 2
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

‘जोशीको उम्मेदवारी गैरकानुनी’

- घनश्याम खड्का

काठमाडौं– विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीको बागी उम्मेदवारी कानुनअनुसार अयोग्य भएको कानुनविदहरूले जिकिर गरेका छन् ।
जोशीले बिहीबार तनहुँ १ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् । त्यस क्षेत्रमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । आफूले नपाएपछि जोशीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
कानुनविदहरूले भ्रष्टाचारी ठहर भइसकेकाले जोशीको उम्मेदवारी कानुनअनुसार रद्द हुनुपर्ने बताएका छन् । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार जोशी उम्मेदवारीका लागि अयोग्य छन् किनभने उनलाई अदालतले भ्रष्टाचार ठहर गरिसकेको छ,’ वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापाले भने, ‘उनी अहिले सर्वाेच्चमा पुनरावेदन गरिरहेका भए पनि कानुनअनुसार भ्रष्टाचारी नै हुन् र उम्मेदवारीका लागि अयोग्य छन् ।’
यस्तै घटना सन् २००१ मा भारतकी राजनीतिज्ञ जयललिताका सम्बन्धमा पनि भएको थियो । जयललिताले चुनाव जिते पनि सर्वाेच्च अदालतले खारेज गरिदिएको उदाहरण दिँदै थापाले जोशीका हकमा पनि त्यही नै लागू हुने जिकिर गरे ।
भ्रष्टाचार मुद्दा खेपिरहेकी जयललिताले हाई कोर्टबाट धरौटी लिएर तामिलनाडुमा उम्मेदवारी दिइन् र दुई तिहाइ मत पाएर मुख्यमन्त्री पनि बनिन् तर त्यसविरुद्ध सर्वाेच्चमा तुरुन्तै रिट पनि पर्‍यो । ‘दुई तिहाइ मत पाएकाले जनताको सर्वाेच्चता कायम हुने हुँदा उनको विजय कायमै हुनुपर्ने तर्क उनका कानुन व्यवसायीले गरेका थिए,’ थापाले भने, ‘तर सर्वाेच्चले भ्रष्टाचार ठहर भएको व्यक्ति चुनाव लड्न र सार्वजनिक पदमा बस्न नपाउने संवैधानिक व्यवस्था भएको हुँदा संवैधानिक सर्वाेच्चता कायम हुने र जयललिता मुख्यमन्त्रीबाट बर्खास्त हुने आदेश गर्‍यो । यो नजिर हामीकहाँ पनि मिल्छ ।’
जोशीलाई विशेष अदालतले १० साउन २०६९ मा भ्रष्टाचारी ठहर गर्दै ४ करोड ३२ लाख बिगो र जरिवाना तथा डेढ वर्ष कैद हुने फैसला गरेको थियो । त्यसविरुद्ध उनले सर्वाेच्चमा पुनरावेदन दिए पनि ऐनअनुसार भने उम्मेदवारी दिन नमिल्ने भएको हो ।
प्रतिनिधिसभा सदस्यसम्बन्धी ऐन २०७३ को दफा १३ को उपदफा (घ) मा उम्मेदवारहरूको अयोग्यतासम्बन्धी व्यवस्था छ । यसमा भनिएको छ– ‘भ्रष्टाचार, जबरजस्ती करणी....वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको’ उक्त कानुन प्रस्ट नभएकाले जोशीले छिद्र खोजेर उम्मेदवारी दिएको संविधानविद डा. विपिन अधिकारीले बताए । ‘केलाई अन्तिम अदालतको फैसला मान्ने भन्ने द्विविधा यहाँ छ,’ अधिकारीले भने, ‘किनभने विशेष अदालतले उनलाई भ्रष्ट ठहर गरिसकेको छ तर पुनरावलोकन गरेकाले त्यो निवेदन सर्वाेच्चमा अहिले चलि नै रहेको छ । यस्तो अवस्थामा उम्मेदवारी दिन पाइने नपाइने भनेर ऐनको उक्त दफाले प्रस्ट भनेको छैन । तर नैतिक पतन देखिने कुनै पनि काममा संलग्न भएकाले पनि उम्मेदवार हुन नपाउने पनि भनेको छ । भ्रष्टाचार नैतिक पतन हुने काम भएकाले यसमा उनको उम्मेदवारीविरुद्ध दाबीविरोध गर्नेलाई ठाउँ प्रशस्त छ ।’ निर्वाचन आयोगले यससम्बन्धमा विचार गरेर तुरुन्त निर्णय दिनुपर्ने अधिकारीको जिकिर छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

रातिसम्म मनोनयनको लाम

- अखण्ड भण्डारी,रवीन्द्र उप्रेती

महोत्तरी– प्रदेश २ का अधिकांश जिल्लामा राति अबेलासम्म मनोनयन दर्ता गरिएको छ । निर्धारित अपराह्न ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयभित्र छिरेका दलले पालो कुरेर उम्मेदवारी दर्ता गराएका हुन् ।
महोत्तरीमा करिब साढे ८ बजे मात्र मनोनयन प्रक्रिया पूरा भएको छ । कान्तिपुर संवाददाताहरूका अनुसार अन्य जिल्लामा पनि तोकिएको समयमा मनोनयन सकिएन । पर्सामा पौने ८ बजे सकियो भने बारामा साढे ७ बजे । सप्तरी, सिरहा, सर्लाही, रौतहट र धनुषामा ७ बजेको हाराहारी मा मनोनयन सकिएको छ ।
कतिपय जिल्लामा दलहरूलाई मनोनयनमा जानुअघिसम्म पनि उम्मेदवारी टुंग्याउन हम्मे परिरहेको थियो । महोत्तरीमा माओवादी केन्द्रले क्षेत्र २ मा अन्तिम क्षणमा कासिम नदाफलाई टिकट दियो । मन्त्री तथा क्षेत्र १ का उम्मेदवार गिरिराजमणि पोखरेल आफ्नो मनोनयन दर्तामा जानु केही अघिसम्म क्षेत्र २ को अन्योल टुंग्याउन लागिपरेका थिए । उनकै पहलमा समाधान भएको थियो । कतिपय उम्मेदवारका हकमा भने विशेष तामझामका कारण ढिला भएको थियो । दलहरूको तालमेल पहल अन्तिम घडीसम्म चलेका कारण लाममा प्रतिनिधि राखेर वार्ता भइरहेको पनि पाइयो । कतिपय दलका उम्मेदवार राजधानीबाट आउनुपरेकाले मनोनयन दर्ता ढिला भएको थियो ।
मध्याह्न अघिसम्म निर्वाचन अधिकृतका कार्यालय सुनसान थिए । २ बजेपछि मात्र दलहरू जाने क्रम बढदै गयो । अन्तिम अवधिमा एकैपटक धेरै दल पुगे । भीडभाडका कारण बेलुकीपख निर्वाचनका कर्मचारी बोल्ने फुर्सदमा पनि देखिँदैन थिए । ‘म्याद सकिने बेलामै काम गर्ने हाम्रो नेपाली परम्परा बनेको छ,’ प्रदेश २ का एक जिल्ला निर्वाचन अधिकारीले भने, ‘निर्वाचनको मनोनयनजस्तो संवेदनशील काम बेलैमा गर्दा झन् राम्रो हुने थियो ।’
राति अबेलासम्म दर्ता प्रक्रिया अघि बढाउने क्रममा महोत्तरी जिल्ला निर्वाचन कार्यालयको कम्प्युटरले काम गर्न छाडेको थियो । त्यही कारण क्षेत्र ४ का उम्मेदवारको सूची उपलब्ध गराउन नसकिएको सम्बद्ध कर्मचारीहरूले बताए ।

Page 3
Page 4
प्रदेश

कांग्रेस र वाम गठबन्धनबीच टक्कर

- प्रशान्त माली

ललितपुर– जिल्लामा कांग्रेस र वाम गठबन्धनले बाजागाजासहित उम्मेदवार दर्ता गराएका छन् । कांग्रेसबाट प्रतिनिधिसभातर्फ १ नम्बर क्षेत्रमा उदयशमशेर राणा, २ मा चन्द्र महर्जन र ३ मा मदनबहादुर अमात्यले उम्मेदवारी दिए । वाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ मा एमालेबाट नवराज सिलवाल, २ मा एमालेकै कृष्णलाल महर्जन र ३ मा माओवादी केन्द्रबाट पम्फा भुसालले उम्मेदवारी दिए ।
प्रदेशसभातर्फको ६ सिटमा कांग्रेसबाट १ नं. ‘क’ मा ऋषिराम घिमिरे, ‘ख’ मा मीनकृष्ण महर्जन, २ नं. को ‘क’ मा पवनविक्रम थापा, ‘ख’ मा प्रेमकृष्ण महर्जन र ३ को ‘क’ मा नवराज महत र ‘ख’ मा शिवराम बानियाँले उम्मेदवारी दर्ता गराए । वाम गठबन्धनबाट क्षेत्र नं. १ को ‘क’ मा माओवादीकी सुशीला पुन, ‘ख’ मा एमालेका चेतनाथ सञ्जेल, २ नं. को ‘क’ मा एमालेका माधव पौडेल, ‘ख’ मा एमालेकै ज्ञानेन्द्र शाक्य, ३ ‘क’ मा माओवादीका राजकाजी महर्जन, ‘ख’ मा एमालेका जीवन खडकाले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसका तीनै जना नेता दोस्रो संविधानसभा सदस्य निर्वाचित नेता हुन् । सिलवाल पूर्वडीआईजी, महर्जन २०५१ र २०५६ मा प्रतिनिधिसभामा निर्वाचित सांसद तथा भुसाल पहिलो संविधानसभा सदस्यमा निर्वाचित नेता हुन् । जिल्लामा कांग्रेसका अर्थ राज्यमन्त्री राणा र पूर्वडीआईजी सिलवालबीच टक्कर देखिएको छ । अर्थराज्यमन्त्री राणा र पूर्वडीआईजी सिलवाल दुवैले जनताले आफूलाई अत्यधिक मत दिएर विजय गराउने दाबी गरे । जनताले लोकतन्त्रवादीलाई रुचाउने भन्दै अर्थराज्यमन्त्री राणाले विश्व खुल्ला अर्थतन्त्रमा आफ्नो जित सुनिश्चित भएको दाबी गरे । पूर्वडीआईजी सिलवालले आफूलाई जिताएमा आर्थिक क्रान्ति गर्ने बताए । ‘ललितपुर बत्तीमुनिको अँध्यारो हो,’ उनले भने, ‘जलस्रोतको विकास गर्नेछु ।’
एमाले र माओवादी केन्द्रबीच गठबन्धन सम्बन्धमा जिल्लाका दुवै पार्टी कार्यकर्ता असन्तुष्ट छन् । एमाले कार्यकर्ताले क्षेत्र नम्बर ३ र माओवादी केन्द्रका कार्यकर्ताले क्षेत्र नम्बर २ क्षेत्रका उम्मेदवारको बारेमा असन्तुष्टि व्यक्त गरेका हुन् । प्रदेशसभा क्षेत्र नं. १ ‘क’ बाट उम्मेदवार सुशीला पुनले पार्टीका सदस्य सबै उम्मेदवारका योग्य भएको बताइन् । ‘राष्ट्रिय राजनीतिलाई ध्यानमा राखेर वाम गठबन्धनले मलाई जिताउनेछ,’ उनले भनिन् ।
भक्तपुरमा मतदाता बढे
भक्तपुर– आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भक्तपुरमा १ लाख ७८ हजार ९९ मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार स्थानीय तह निर्वाचनपछि १६ हजार ५ सय ७० मतदाता बढेका छन् । स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ६२ हजार ८ सय ८९ मतदाता थिए ।

 

प्रदेश

बिजुक्छेले दिएनन् उम्मेदवारी

- कान्तिपुर संवाददाता
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि भक्तपुरमा बिहीबार उम्मेदवारी दर्ता गराउने क्रममा वाम गठबन्धन तथा कांग्रेसका उम्मेदवारहरू । तस्बिर : रासस

भक्तपुर– भक्तपुर १ मा प्रतिनिधिसभातर्फ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रबाट लगातार पाँचपटक चुनाव जितेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक उम्मेदवारी दिएनन् । बिजुक्छेले आफ्नो क्षेत्रमा सुवाललाई उठाएका हुन् । १ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मिलन सुवाल तथा कांग्रेसका बाबुराजा जोशीले उम्मेदवारी दिएका छन् । राप्रपा प्रजातान्त्रिकले कांग्रेसलाई समर्थन गर्ने निर्णयसहित र्‍यालीमा सहभागी भयो । उक्त क्षेत्रमा विवेकशील साझा पार्टीबाट इन्जिनियर दीपेश न्यौपानेले उम्मेदवारी दिएका छन् ।
भक्तपुर २ मा प्रतिनिधिसभाका लागि कांग्रेसबाट पूर्वसभामुख दमननाथ ढुंगाना र एमालेबाट पूर्वमन्त्री महेश बस्नेतले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा यी दुवैको रोचक प्रतिस्पर्धा हुने भएको छ । उक्त क्षेत्रबाट नेमकिपाकी पूर्वसांसद अनुराधा थापामगरले उम्मेदवारी दिएकी छन् । भक्तपुर १ मा प्रदेशसभातर्फ (क) मा वाम तालमेल हुन सकेन । उक्त प्रदेशमा एमालेबाट हरिशरण लामिछाने र माओवादी केन्द्रबाट डीपी ढकालले उम्मेदवारी दर्ता गराए भने कांग्रेसबाट जीवन खत्री, नेमकिपाबाट नीरज लवजु, राप्रपाबाट मुकुन्द कार्की, विवेकशील साझा पार्टीबाट कालीचरण कार्कीलगायतले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश १ (ख) कांग्रेसबाट अनिल भुजु, वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रोमश शिलाकार, नेमकिपाबाट सुरेन्द्रराज गोसाई, राप्रपाबाट विष्णुप्रसाद त्वानावासु, संघीय समाजवादी पार्टीबाट कुसुम प्रधानलगायतले उम्मेदवारी दिएका छन् । भक्तपुर २ मा प्रदेशसभातर्फ (क) मा कांग्रेसबाट उद्धव सिलवाल, वाम गठबन्धनका तर्फबाट एमालेका शशिजंग थापा, नेमकिपाबाट सरोजराज गोसाई, राप्रपाबाट डोलबहादुर कार्की, विवेकशील साझाबाट रमेश राईलगायतले उम्मेदवारी दिए ।
त्यस्तै (ख) मध्यपुर थिमिमा कांग्रेसबाट गणेशमान चक्रधर, वाम गठबन्धनबाट एमालेका राजेन्द्रमान श्रेष्ठ, नेमकिपाबाट प्रेमजन थापा, राप्रपाबाट राजेश राजवाहकलगायतले उम्मेदवारी दिएका छन् । प्रमुख दल कांग्रेस, एमाले, माओवादी केन्द्र र नेमकिपाले र्‍यालीमा सहभागी भएर उम्मेदवारी दर्ता गराए ।

 

प्रदेश

फोहोर टिपेर आम्दानी

- शिल्पा कर्ण
नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट । तस्बिर : शिल्पा/कान्तिपुर

सिसडोल (नुवाकोट)– बिहान ४ बज्न नपाउँदै उठी सूर्यमान बलामी बोरा बोकेर सिसडोलको ल्यान्डफिल साइट पुग्छन् । फोहोरको डंगुर परैबाट गन्हाउँछ तर त्यही डंगुरले उनका दुई छोराछोरीसहित ४ जनाको परिवारको खर्च धानेको छ ।
काठमाडौंबाट जाने फोहोरबाट कबाडीमा बिक्ने सामान टिपेर फेरि त्यो सामान पुन:प्रयोगका लागि सिसडोलबाट ल्याइन्छ । त्यसरी फोहोरबाट फेरि प्रयोग गर्न सकिने सामान टिप्ने लगभग एक सय जना सधैं त्यहाँ देखिन्छन् । ‘यहाँबाट चप्पल र प्लास्टिकका सामान बोरामा टिप्छु,’ कुल्पु कागतीगाउँका बलामीले भने, ‘एउटा ठूलो बोराको ४/५ सय जति पर्छ । टिपेको सामान ट्रकले लिएर जान्छ ।’ उनकी श्रीमतीसमेत यही काम गर्छिन् ।
यसरी नै फोहोरबाट सामान टिपेरै जिन्दगी धानेकी छन् कुल्पुकी ठूलीमायाले पनि । बुधबार दिउँसो ल्यान्डफिल साइट पुग्दा उनी पानीका ठूला बोतल, स्याम्पुका बोतल र अन्य प्लास्टिकले बनेका सामान बोरामा कोच्दै थिइन् । खुट्टामा बुट, टाउकोमा मजेत्रो बाँधेकी उनी बिहानै ७ बजे घरको काम सकेर ल्यान्डफिल साइट पुगिसक्छिन् । दुई छोरा र एक छोरीसहित ५ जनाको उनको परिवारले पनि दुई वर्ष भयो यसरी फोहोरबाट काम लाग्ने नसड्ने प्रकृतिका सामान टिपेर गुजारा चलाएको । उनले भनिन्, ‘फोहोर फालेको दिन टिप्न पाइयो भने दुई बोराको तीन सय पाइन्छ । भेटिएन भने पाइन्न ।’ उनका श्रीमान् वीरबहादुर पनि यही काम गर्छन् ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका केही स्थान, राजधानी नजिकका बनेपा, धुलिखेल, नगरकोट जस्ता ठाउँमा उत्पादन हुने फोहोर समेत सिसडोलमा फाल्ने गरिएको छ । काठमाडौं महानगरपालिका वातावरण प्रशासन महाशाखा प्रमुख युवराज खनालले उक्त स्थानमा दिनहुँ ८ सय टन फोहोर फालिने गरेको बताए । यसरी फालिएको फोहोरबाट पुराना कपडा धोएर विभिन्न प्रयोजनका लागि बेच्ने गरिएको बलामीले बताए । कसैले सिसा, कसैले प्लास्टिकका सामान त कसैले जुत्ताको सोल र कपडा टिप्ने गर्छन् । फोहोर बोकेका ट्रक गइरहेका हुन्छन् भने पुन: प्रयोग गर्न सकिने सामान बोकेर फर्किरहेका ट्रक पनि देख्न सकिन्छ ।
सिसडोल वरपर घर हुनेभन्दा बाहेक त्यहाँ टाढाबाट फोहोर टिप्ने पनि छन् । उनीहरू नजिकै त्रिपाल टाँगेर बस्छन् । उनीहरूको खाना पकाउने, बस्ने ठाउँ नै त्यहीँ हो । न दुर्गन्धको परवाह छ न त रोग लाग्ने चिन्ता नै । स–साना बालबालिकासँगै फोहोरको डंगुरमा बस्ने परिवार पनि छन् । यस्तै आफ्ना दुई वर्षीय नातिसँग भेटिएका एक वृद्धले परिवारका सबै सदस्यले यही काम गर्ने गरेको बताए । उनका छोरा–बुहारी पनि यसै काममा संलग्न भएकाले बच्चा पनि दिनभरि फोहोरमै रुमल्लिहरन्छ । यस्ता दर्जनभन्दा बढी १६ वर्षमुनिका बालबालिका त्यहाँ हुन्छन् । उनीहरूले अभिभावकलाई काममा सघाउने र त्यहीँ बस्ने गरेको बताए । फोहोरमैला कुहिँदा स्वास्थ्यका लागि खतरनाक ग्यास पनि उत्सर्जन भइरहेका हुन्छन् । तर पनि बालबालिका र फोहोर टिप्ने मानिसहरू यहीँ बसोबास गर्छन् ।

प्रदेश

समान ज्याला

काठमाडौं (रासस)– सर्वोच्च अदालतले समान कामका लागि समान ज्याला प्राप्त गर्ने अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहीबार समान मूल्यको कामका लागि समान ज्याला पाप्त गर्ने अधिकारलाई प्रभावकारी बनाउन विशिष्ट ऐन तथा नियमावली बनाई कार्यान्वयनमा ल्याउन आदेश जारी गरेको हो । समान मूल्यको समान ज्याला पाउनुपर्ने लगायतका माग गर्दै न्याय तथा अधिकार संस्था नेपाल (जुरी नेपाल) का अध्यक्ष तथा अधिवक्ता राजुप्रसाद चापागाईं, अधिवक्ता शशि बस्नेत, विष्णुप्रसाद पोखरेलले चैत ९ गते रिट दायर गरेका थिए
आदेशमा देशका ग्रामीण तथा शहरी भेगमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा संलग्न श्रमिकप्रति शोषण तथा भेदभावविरुद्ध कानून उपचारका सहज पहुँच सुनिश्चित गर्न काठमाडौं बाहिर पनि श्रम मुकाम गर्ने, उजुरी सुन्ने निकाय तोक्ने वा वैकल्पिक प्रबन्ध गर्ने आवश्यक व्यवस्था यथाशीघ्र कार्यान्वयनमा ल्याउन भनिएको छ ।

 

प्रदेश

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘सार्क ल’ का संरक्षक

काठमाडौं (कास)– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई दक्षिण एसियाका न्यायाधीश, कानुन व्यवसायी तथा प्राध्यापकहरूको क्षेत्रीय संगठन ‘सार्क ल’ ले आफ्नो संरक्षकको उपाधि दिएको छ । पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीका अनुसार, चौधौं सार्क लका कानुनविद् तथा र सार्क क्षेत्रका प्रधानन्यायाधीशहरूको श्रीलंकामा भएको भेलाले श्रेष्ठलाई यस क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत सम्मान गरेको हो । दक्षिण एसियामा तीन दशकदेखि कानुनी क्षेत्रमा सक्रिय सार्क लमा श्रेष्ठ यसअघि अध्यक्ष थिए । सार्क लमा भारतका पूर्वप्रधानन्यायाधीश पियन भगवती र पाकिस्तानका पूर्वप्रधानन्यायाधीश नासिफ हुसेन संरक्षक भएका थिए । उनीहरूको देहान्त भइसकेको छ भने हाल भुटानका पूर्वप्रधानन्यायाधीश सोनाम तोब्गे र भारतका वर्तमान एटर्नी जनरल केके बेनगोपाल तथा बंगलादेशका पूर्वकानुनमन्त्री अनिरुल इस्लाम संरक्षक छन् । नेपालका तर्फबाट पहिलोपटक पूर्वप्रधानन्यायाधीशलाई संरक्षकको सम्मान दिइएको हो ।

 

Page 5
Page 6
सम्पादकीय

मतदाता शिक्षामा धपेडी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन संघारमा आइपुग्दा मतदाता शिक्षा कार्यक्रम भने प्रभावकारी ढंगले अघि बढेको देखिँदैन । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा कार्यकर्ता छनोट गरी परिचालन गरे पनि सामग्री नभएर कतिपय ठाउँमा कार्यक्रम सुरु भएकै छैन । सुरु भएका ठाउँमा भने मतपत्रको ढाँचा फेरबदलपछि कार्यक्रम स्थगन गर्नुपरेको छ । परिमार्जित सामग्री मतदाता शिक्षा कार्यकर्ताका हातमा पुगेपछि मात्र कार्यक्रम अघि बढाउनुपर्ने परिस्थितिले गर्दा मताधिकारप्राप्त धेरै नागरिक मतदाता शिक्षाबाट वञ्चित हुने सम्भावना छ । मतदान प्रक्रियाबारे मतदाता सचेत हुन नसक्दा बदर मत बढ्ने जोखिम रहन्छ ।
पहिलो चरणअन्तर्गत ३२ जिल्लामा हुने निर्वाचन आउन करिब तीन साता मात्र बाँकी छ । हिमाली तथा उच्च पहाडी अर्थात् भौगोलिक रूपमा विकट क्षेत्रमा पहिलो चरणको निर्वाचन हुँदै छ । ती क्षेत्रमा राजधानीबाट मतदाता शिक्षाका सामग्री पठाउनै समय लाग्न सक्छ भने मतदाता शिक्षा कार्यकर्तालाई पनि घरघरमा पुग्न सकस हुन्छ । एउटा मतदान केन्द्रका लागि एक जना मात्र मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ । तर मतपत्रको ढाँचा फेरबदलपछिका सामग्री मतदाता शिक्षा कार्यकर्ताका हातमा पुग्नै बाँकी छ । यसअघि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को गरी दुइटा मात्र मतपत्र रहने व्यवस्था थियो । त्यहीअनुसार सामग्री लिएर मतदाता शिक्षा कार्यकर्ता परिचालित थिए । तर सर्वोच्च अदालतले प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अलग–अलग मतपत्र छपाइका विषयमा निर्वाचन आयोगलाई लिखित जवाफ मागेपछि ढाँचा फेरिएको छ । यसले मतदाता शिक्षा कार्यकर्ताको धपेडी बढाइदिने भएको हो ।
निर्वाचन आयोगले यसअघि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको मतपत्र एउटै पानामा छाप्ने तयारी गरेकामा अब छुट्टाछुट्टै हुनेछन् । समानुपातिकमा भने प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एउटै पानामा हुनेछ । मतदाताले अब चार ठाउँमा छाप हानेर मतपत्र तीनवटा मतपेटिकामा हाल्नुपर्नेछ । मतपत्रको ढाँचाको फेरबदलले पहिले तयार गरिएका मतदाता शिक्षाका सामग्री पनि खेर गएका छन् । हरेक मतदान केन्द्रमा एक–एकवटा मतपेटिका थप्नुपर्ने भएको छ । आम निर्वाचनमा चार ठाउँ छाप र तीनवटा मतपेटिकाको प्रयोग पहिलोचोटि हुँदै छ । समानुपातिकतर्फ एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई छाप हान्नुपर्छ जसले गर्दा मतदाताले एक ठाउँ मात्र छाप हानेर अर्को ठाउँमा खाली छाड्ने सम्भावना छ । त्यसैले मतदानको पद्धति बुझाउन मतदाता शिक्षा जरुरी छ । स्थानीय निर्वाचनमा एउटै मतपत्रमा सात ठाउँ छाप हान्ने प्रावधान हुँदा १० प्रतिशत हाराहारी मत बदर भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा करिब ५ प्रतिशत र दोस्रो संविधानसभामा ४ प्रतिशत हाराहारी मात्र मत बदर भएको थियो ।
आसन्न निर्वाचनमा करिब डेढ करोड मतदाता छन् । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि सामाजिक परिचालक, मातृशिशु स्याहार कार्यकर्ता र शिक्षकलगायतलाई मुलुकभर परिचालन गरेको छ । उनीहरूले मतदातालाई समग्र निर्वाचन प्रणाली, मतदानको तरिका, हातेपुस्तिका, बारम्बार सोधिने प्रश्नको संगालो, पर्चा–पम्प्लेटलगायत माध्यमबाट जानकारी दिनुपर्छ । रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेटमार्फत पनि मतदातालाई सचेत पारिन्छ । प्रभावकारी भने घरदैलो गर्दै मतदाताले भेटेर सूचित गराउँदा नै हुन्छ । प्राय: हरेक निर्वाचनमा मतदाता शिक्षा कार्यकर्ता घरघर नपुगेको, पर्चा–पम्प्लेट पनि पर्याप्त नटाँसेको, नबाँडेको गुनासो सुनिन्छ । अधिकांश मतदाता शिक्षा कार्यकर्ताले भेला बोलाएर मत हाल्ने तरिका सिकाउने गरेको पाइएको छ । यसो गर्दा भेलामा सहभागी मात्र लाभान्वित हुन सक्छ । मतदाता शिक्षा कार्यकर्तालाई सही निर्देशन र उनीहरूको कामको अनुगमनले मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्छ ।
सदर मत प्रतिशत निर्वाचन सफलताको सूचकसमेत रहेकाले मतदाता शिक्षालाई सरकार र निर्वाचन आयोगले विशेष प्राथमिकता दिनुपर्छ । मत बदर हुनु भनेको नागरिकको मताधिकार सदुपयोग हुन नसक्नु हो । मतदाता शिक्षाका लागि समय अत्यन्तै छोटो रहेकाले निर्वाचन आयोगले सामग्रीहरू जतिसक्दो छिटो सम्बन्धित क्षेत्रमा ढुवानी गर्न जरुरी छ । मतदाता शिक्षा कार्यकर्ताले पनि इमादारपूर्वक घरदैलो गर्दै मतदातालाई सचेत पार्ने जिम्मेवारी पूरा गर्नुपर्छ । यसमा राजनीतिक दलहरूसँगै स्थानीय समुदायका अगुवाहरूले पनि सहयोग गर्नुपर्छ । मत हाल्न प्रेरित गर्ने र छाप हान्न सिकाउने दायित्व राजनीतिक दलहरूको पनि हो ।

दृष्टिकोण

कांग्रेसमा किन दरबारिया आकृति ?

- श्रीकृष्ण अनिरुद्ध गौतम

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको समाचार पुरानो भइसकेको छ । तालमेलले बहुमत ल्याउँछ कि दुई तिहाइ नै जुटाउँछ, यी जिज्ञासा पनि बासी भइसकेका छन् । किनभने दुई कम्युनिस्ट बीचको एकाम्यताबाट लागेको भन्दा ठूलो झट्का त नेपाली कांग्रेसले दिएको छ । कांग्रेसले आफूसँग पूर्वपञ्चका दुई झुन्डलाई लिएर कम्युनिस्टहरूबाट लोकतन्त्रमाथि हुनसक्ने खतराबाट देशलाई जोगाउने निर्णय गरेको छ । जोबाट लोकतन्त्रमाथि बारम्बार प्रहार भयो, जसका कारण नेपालीहरूको उक्सिनै नसकिनेगरी दुर्गति भयो, तिनै पञ्चसँग अंकमाल गरेर कांग्रेस आफूलाई राजनीतिको केन्द्रीय भावमा कायम राख्ने उद्यम गरिरहेको छ ।
महाभारतको एउटा प्रसंग यस्तै बेलामा धेरैले सम्झन्छन्, म पनि सम्झन्छु । कांग्रेसका ‘स्वतन्त्र चिन्तक’ प्रदीप गिरी सबैभन्दा बढी सम्झन्छन् । कुरुक्षेत्रको युद्धमा कौरव पक्ष एकपछि अर्को पराजयतर्फ उन्मुख भइरहेको हुन्छ । एकसेएक सेनापतिहरू ढल्छन् । कौरव पक्षबाट सेनाको नेतृत्व गरिरहेका महापराक्रमी भीष्म धराशायी भइसकेका हुन्छन् । शस्त्र विद्यामा निपुण गुरु द्रोणाचार्य र अर्जुनकै टक्करका सूर्यपुत्र कर्णले पनि वीरगति प्राप्त गरिसकेका हुन्छन् । तैपनि दुर्योधनले युद्धमा आफूले जित्ने अभिलाशा त्यागेका हुँदैनन् । उनलाई अझै आशा हुन्छ, त्यसैले उनी मद्र नरेश शल्यलाई सेनापति बनाउने निष्कर्षमा पुग्छन् । शल्य कुनै कुशल योद्धा थिएनन्, नत उनको निष्ठा नै दुर्योधनप्रति थियो । पाण्डव पक्षबाट युद्ध गर्न आएका शल्य वासुदेव श्रीकृष्णको विशिष्ट रणनीति अन्तर्गत कौरव पक्षमा पुगेका हुन्छन् ।
शल्यको आफ्नाप्रतिको अनिष्ठा दुर्योधनलाई राम्ररी थाहा थियो । तैपनि तिनै शल्यलाई सेनापति बनाउनुपर्ने अवस्थामा पुगेका दुर्योधनको मन आफैंप्रति व्यंग्य गर्दै भन्छ, ‘धन्य आशा बलवति, शल्यश्च: सेनापति ।’ अर्थात् आशा बडो बलवान हुँदोरहेछ, शल्यलाई सेनापति बनाएर अझै म युद्ध जितुँला, भन्ठान्दैछु ।’ यस दृष्टान्तको तात्पर्य मेरा विज्ञ पाठकहरूलाई भनिरहनु पर्दैन । कुनै पनि होशमा बाँच्ने कांग्रेसलाई, पूर्वपञ्च र दरबारियाले कांग्रेसप्रति सदैव कुभलो नै चिताएका हुन्छन् भन्ने यथार्थ राम्ररी थाहा छ । तर कांग्रेसमा पञ्च, दरबारियाप्रति अनुराग राख्नेहरूको कमी कहिल्यै भएन र त्यही अनुरागका कारण लोकतन्त्रमाथि घात हुने कर्म पनि कहिल्यै रोकिएन ।
नेपाल के, संसारमै लोकतन्त्रलाई तारो बनाउने धेरै छन्, हुन्छन् । कम्युनिस्टले पनि मौका पाए सिद्धयाउँछन् । त्यस्तै देखिनलाई लोकतन्त्र, लोकतन्त्र भनिहिँड्नेले यसलाई भित्रभित्रै खोक्रो पारेका दृष्टान्त खोज्न अन्यत्र हेर्नै पर्दैन, नेपालमै प्रशस्तै छन् र कांग्रेसमै त्यस्ता पात्र नेतृत्वमै पुगेका छन् । त्यस्तै पात्रका लागि पञ्च, दरबारियाहरू प्रिय हुन्छन् र तिनैले आगामी निर्वाचनमा दरबारियासित सहकार्य गर्ने मार्गचित्र तयार पारेका हुन् । यो खेल वास्तवमा कम्युनिस्ट एकजुट भएभन्दा खतरनाक छ, किनभने यसले लोकतन्त्रभित्रै पसेर यसैका जरा काटिदिन्छ । पढौं, २००७ सालपछिका प्रसंगहरू कसका कारण यो देश दीनहीन अवस्थामा पुग्यो ?
कांग्रेसले राष्ट्रपिता बनाएका त्रिभुवनले कांग्रेसमै फाटो हालेर आफैं राज गरेका थिए । त्रिभुवनका छोरा महेन्द्रले नेपालीहरूको स्वतन्त्रता हरण गरे, कांग्रेसका संस्थापकहरूलाई नै जेलमा कोचे । त्यस्तै वीरेन्द्र हुन् अथवा उनको सवंश विनाशको पृष्ठभूमिमा बलात् राजा बनेका ज्ञानेन्द्रका कृत्यहरू पढ्न इतिहास खोज्नै पर्दैन, आज सुनसान हुनपुगेको नारायणहिटीका भित्ताहरू हेरे आफैं थाहा हुन्छ । पञ्च, दरबारियाहरू जनतालाई कज्याएर
आफ्ना महत्त्वाकांक्षा पूरा गर्ने तिनै राजाहरूका भारदार हुन् । त्यसैले अंग्रेजीमा राजा र तिनका मतियारलाई ‘ब्लु ब्लड’ (नीलो रगत) भनिन्छ । तिनीहरूका मनमा दया हुँदैन, देशको माया हुँदैन, जनताको सुखदु:ख र आत्मसम्मानको चिन्ता हुँदैन । जहाँ मायाजस्तो देखिन्छ, त्यो देखावटी हुन्छ । जहाँ दया गरेजस्तो गर्छन्, तिनीहरूको त्यहाँ कपट हुन्छ । तिनीहरूले दिएको, दिएको हुँदैन छल हुन्छ । कांग्रेसले आफ्ना विगतका पाना पल्टाएर हेरोस्, पाइला–पाइलामा यसले दरबार र दरबारियाबाट धोखा खाएको इतिहास छ । कांग्रेसको जे होस् भन्ने हो भने पनि मन राख्ने ठाउँ छैन, किनभने पञ्च, दरबारियाले जनतालाई आफ्ना नैसर्गिक अधिकारबाट बञ्चित राख्न वर्षौंवर्ष कुकृत्य गरेका हुन् ।
कांग्रेस भन्छ, कम्युनिस्ट गठबन्धनले चुनाव जिते देशमा एकदलीय तानाशाही लादिन्छ । तर त्यस्तो हुँदैन, किनभने जो साँच्चै कम्युनिस्ट हुन्, ती गुफा पसिसकेका छन् कि अब यो संसारमै छैनन् । त्यसै पनि कम्युनिस्ट कहिल्यै सुल्टो हिँडेनन्, किनभने कार्लमाक्र्सले हेगेलको सुल्टो विचारलाई सुरुमै उल्टाएका थिए । कांग्रेसले जजसलाई कम्युनिस्ट भनेर देखाइरहेको छ, ती अर्बौंको लेनदेन गर्ने साहु महाजन हुन् । तथापि नाम कम्युनिस्ट छ, मानिलिउँ कम्युनिस्ट नै हुन् । बहुमत नै ल्याए पनि केही लछारपाटो लागाउनेवाला छैनन् । यी पहिला २०२७–२८ साल र पछि २०५२ सालमै जनवादी क्रान्ति गर्न हिँडेका थिए, तर तिनीहरू मध्येकै पाका जनवादी क्रान्तिको भ्रान्तिबाट मुक्त भएर अचेल ‘प्रपर्टी डिलर’ बनिसकेका छन् । त्यसैले यिनले बहुमत ल्याए ल्याउन् । आफैं उदांगिन्छन्, एक्लिन्छन् । यिनले बहुमत ल्याउलान् भन्ने त्रासले कांग्रेस पञ्चका पोल्टामा जानु कति घातक छ, धेरै पर्खनु पर्दैन, त्यो चुनावमै थाहा भइहाल्नेछ ।
अब कम्युनिस्टमाथि धेरै शब्द खर्च नगरौं, किनभने यो विचार नै सान्दर्भिक रहेको छैन । करिब तीन दशकपूर्व नै पूर्वी युरोपमा यिनको मेनिफेस्टोको मृत्यु र सोभियत संघको विघटनसँगै दाहसंस्कार भइसकेको हो । यहाँ अझै त्यसैको अवशिष्ट स्मृति बाँकी छ, किनभने २०६३ सालसम्म नेपाली जनता दरबारका फन्दामा परेका थिए । नेपाली जनता त्यो फन्दाबाट मुक्त भइसकेका छन्, त्यसैले कम्युनिस्ट ढोलको आवाजले अब खासै असर गर्दैन, गरे पनि टिक्दैन ।
झन् कम्युनिस्ट देखिने तर मनमनै निजी सम्पत्तिको शौख राख्नेको त कुरै नगरौं, ती पाखण्डी हुन् । तर कम्युनिस्ट, कम्युनिस्ट हुन्, नहुन् जे हुन्, ती जे भए पनि दरबारियाजस्ता नीलो रगत होइनन्, रातो रगत नै हुन् । ती जनतामाझकै तर विचरा विचलित प्राणी हुन् । पञ्चहरू, दरबारियाहरू जनता माझका होइनन् । तिनको रगत फरक छ, सोचमै शोषण र तिनमा आफू विशिष्ट भएको अहं छ । आफूलाई जन्मजातै महान ठान्ने रोग छ । यो रोग लोकतन्त्रका लागि सबैभन्दा घातक हुन्छ । किनभने लोकतन्त्रप्रेमीले सबथोक सहन्छ, तर निजी प्रतिष्ठामा असमानता सहँदैन । धन कमबेसी हुन्छ नै, तर लोकतन्त्रमा व्यक्ति–व्यक्तिको प्रतिष्ठा कमबेसी मानिएको स्वीकारिँदैन ।
अब चुनाव हेरौं । निश्चय नै बाहिरी रूपमा ‘कम्युनिस्ट’ गठबन्धनले केन्द्रीय प्रतिनिधिसभा र अधिकांश प्रदेशसभामा अग्रता हासिल गर्ने अनुमान गरिँदैछ । यो वास्तवमा स्थानीय तहको परिणामका आधारमा गरिएको अनुमान हो । तर, त्यतिखेरका मुद्दा र यतिखेर निकै तलमाथि भइसकेको छ । त्यतिखेर एमालेलाई लोकतान्त्रीकरणको मार्गमा गतिशील र राष्ट्रियताको प्रवक्ताका रूपमा चिनिएको थियो भने यतिखेर माओवादी केन्द्रसँगको तालमेलका कारण उसको त्यो छवि यथावत् छैन र चुनावी मैदानमा यसको लाभ यदि दरबारियासँग आफ्नो गठबन्धन तोड्यो भने कांग्रेसलाई मिल्ने देखिन्छ । फेरि पहिलो हुने प्रथा बहुकोणीय प्रतिस्पर्धामा आधारित हुन्छ, यस्तोमा अंकको जोड–घटाउ मात्र काम लाग्दैन, ज्यामितीय गणनाको अहम् भूमिका हुन्छ । एमाले–माओवादीले स्थानीय तहमा पाएको मत जोडिन्छ र कम्युनिस्टले राज्यसत्ता कब्जा गर्छन् भन्ने कांग्रेसको त्रास त्यसै पनि व्यावहारिक होइन । किनभने एमालेले उतिखेर पाएको भोट एमालेकै पोल्टाको थिएन, त्यसमा कांग्रेसका असन्तुष्ट भोट पनि थिए । यसका साथै यहाँ के पनि बिर्सन मिल्दैन भने एमालेलाई भोट बटुल्न ठूलो सघाउ त वास्तवमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण पुगेको थियो ।
साथै के पनि मननीय छ भने माओवादीलाई सबै एमाले मतदाताले भोट दिन्छन् भन्नु आफैंमा अतिशयोक्तिपूर्ण हुन्छ । किनभने सगोत्री हुँदाहुँदै पनि माओवादी विद्रोहका बेला एमाले कार्यकर्ताले पनि माओवादीको यातना सहेका थिए । त्यसैले आगामी चुनावमै एकका सबै मतदाताले अर्कोलाई मत दिन्छन् भनेर पत्याइहाल्ने अवस्था छैन । यसर्थ अहिले कम्युनिस्ट गठबन्धनले सबै एकोहोर्‍याउन सक्छ भन्ने जुन अनुमान गरिँदैछ, त्यो ठ्याक्कै उल्टो पनि हुनसक्थ्यो, यदि कांग्रेस पञ्चहरूसँग गठबन्धनमा नगएको भए ।
समग्र परिदृश्य हेर्दा, माओवादीसँग जोडिएका कारण एमालेले तथा पूर्वपञ्चहरूसँग जोडिन लोभिएकाले कांग्रेस दुबैले चुनावी क्षति बेहोर्नुपर्ने त देखिएको छ नै, निर्वाचनको परिणाम जे होस्, दुर्भाग्यवश कांग्रेसले भने आफूमा दरबारिया आकृति मिसाएर आफ्नो लोकतान्त्रिक पहिचानमाथि नै नमेटिने दाग लगाउने काम गरेको छ ।

 

पाठक मञ्च

क्रोधपूर्ण अभिव्यक्ति फेरि किन ?

नयाँ राजनीतिक गठबन्धन हुनु अघिसम्म वाम नेताहरू सार्वजनिक रूपमा अन्य दल र नेताहरूमाथि घोचपेच गरिरहने, गालीगलौजमा उत्रन पछि नपर्ने, जातीय, क्षेत्रीय मुद्दा उठाएर द्वन्द्व सिर्जना गर्न निरन्तर लागिरहने यथार्थबाट कोही अनभिज्ञ छैन । तर पछिल्लो समय वाम गठबन्धनबाट झस्कँदै नेपाली कांग्रेसभित्र घवराहट र बौखलाहट बढ्न थालेपछि लोकतान्त्रिक साँठगाँठ पनि अनेक प्रश्नले घेरिएझैं लाग्न थालेको छ । यसै सन्दर्भमा बुधबार प्रकाशित ‘कांग्रेस किन आक्रामक ? चुनावको मुख्य एजेन्डा ‘वाम गठबन्धनको एकदलीय साम्यवाद लाद्ने प्रयास रोक्ने’ खबर पढेपछि ठूला दलको दाउ अहिले पनि सामाजिक, आर्थिक विकासभन्दा अरूलाई गाली गरेर सत्ता हत्याउने विषयमा केन्द्रित रहेको भन्न कर लाग्छ । के सर्वसाधारणबाट लोकतान्त्रिक गठबन्धनमाथि तेर्सिन सक्ने निम्न प्रश्नको जवाफ यतिबेला कांग्रेससँग छ ?
-कुन वैचारिक आधारमा नेपाली कांग्रेसले माओवादी केन्द्रसँग मीत लाएर स्थानीय तहको निर्माचनमा तालमेल मिलाएको थियो ? यो सत्ताको राजनीति हो कि सिद्धान्तको ?
-प्रधानमन्त्री शेरबहादुर देउवाको आफ्नै क्षेत्र अर्थात् प्रदेश नं. ७ को पहाडी इलाकामा सामाजिक र आर्थिक स्थिति नाजुक भई मानव विकास सूचकांक तल झरिरहँदा चुनावी एजेन्डामा ती सवाल्र्टनको समृद्धिका लागि दुई शव्द कोर्न सकिँंदैनथ्यो ?
-घाटबँेसीको बस दुर्घटनबाट पूरा सप्तरी जिल्ला शोकमग्न बनेको बेला संवेदनाको निम्ति प्रधानमन्त्रीलाई त्यहाँ पुग्दा के बिग्रन्थ्यो ? यो संवेदनहीनताको उदाहरण होइन ?
-कांग्रेसले वामपन्थीलाई दुई तिहाइ मत ल्याएर अधिनायकवादी शासन लाद्न खोजेको आरोप लगाइरहँदा मिलिजुली ९–९ महिनामा डाडु–पुन्यु लिएर ताण्डव
नृत्य मच्चाउन साथ दिने कांगेससँग निराकरणको उपाय के छ ?
-२०४६ सालको राजनीतिक परिवर्तनपछि झन्डै ७५ प्रतिशत समय सत्तामा हालीमुहाली गरेको कांग्रेसले उल्लेखनीय कुन काम गरेको छ र साथ दिने ?
– डा. भुवनेश्वर शर्मा
चन्द्रागिरि–२, काठमाडौं

पाठक मञ्च

अस्थिर व्यक्तिको स्थिर चाहना

अस्थिर राजनीतिबाट लाभ लिन अति सिपालु माओवादी
केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले स्थिर सरकार चाहियो भनेर कराइरहेको सुन्दा जोकोहीलाई पनि अचम्म लागेकै हुनुपर्छ । एकै ठाउँमा बसिरहन नसक्ने, कागभन्दा पनि अति बाठा हुन् भने समय अनुकूल बिरालोले गुँड सारेजस्तै सारिरहने व्यक्ति हुन्– प्रचण्ड । आफ्नै पार्टीको गठबन्धनमा बनेको एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढालेर फेरि कांग्रेससँग मिलेर गठबन्धनको सरकार बनाउने, त्यही कांग्रेस नेतृत्वकै सरकारले मन्त्रीबाट हटाइसक्दा पनि सतालिप्सा भएर टाँसिरहने अनि विपक्षी एमालेसँग वाम गठबन्धन बनाएर निर्वाचनमा तालमेल गर्ने तिनै प्रचण्ड हुन्, जो अहिले कार्यकारी अधिकारसहित राष्ट्रपति चाहिन्छ भन्दै संविधान विपरीत कुरा बोली हिँडेका छन् । फुर्सतमा गल्ती गर्ने अनि विरोध आउने बित्तिकै माफी मागिहाल्ने चतुर नेता हुन्– प्रचण्ड । चितवनको माडी घटनामा माओवादीले गल्ती गरिसकेको र पीडितसमक्ष पहिल्यै माफी मागिसकेको गत १३ गते सोमबार प्रेस चौतारी चितवनले आयोजना गरेको कार्यक्रममा प्रचण्डले बोल्न भ्याए । त्यतिमात्र होइन, कांग्रेससँगको सत्ता समझदारी टुटिनसकेको प्रत्यक्ष दुनियाँसामु हाँसोको पात्र पनि बने । माडी घटनामा समय अनुकूल गल्ती भयो मात्र भन्ने तर घटनामा संलग्नहरू यो–यो हुन्, यिनीहरूलाई कारबाही गर भनी राज्यसमक्ष नबुझाउने प्रवृत्तिले नै प्रचण्डलाई अस्थिर राजनीतिक नेता भन्नुपरेको हो । अस्थिर मानसिकताले स्थिरता दिन सक्दैन ।
– तिलप्रसाद न्यौपाने
माछापोखरी चोक, बालाजु, काठमाडौं

पाठक मञ्च

पीके र केपीको मिलन

राजनीतिक परिदृश्यका दुई पात्र सुल्टो–उल्टो एउटा सिक्काको दुई पाटाजस्तो । पीके र केपीको यो मिलन संयोग हो या आकस्मिक आवश्यकता ? राजनीतिक विश्लेषकहरूबाट विचार प्रवाह होला नै । २०१७ साल काण्डमा दीपावली गर्ने, २०३६/३७ को जनमत संग्रहमा पहेँलो पाना प्रयोग गर्ने, आफूलाई बारम्बार दरबारियाको आरोप लाग्दा पनि कहिल्यै खण्डित नगर्ने, जनताको बहुदलीय जनवादको आदर्श बोक्ने शक्ति र साम्यवादी गणतन्त्र निर्माण गर्न वर्गशत्रु सफाया गर्दै जनयुद्धको नाममा १२ वर्षे वितन्डा मच्चाउने अतिवादी शक्तिबीच भएको नाटकीय एकता आफैमा सूक्ष्म अध्ययनको विषय हो । अभाव, अशान्ति, दरिद्रता र अराजकताबाट भर्खरै तङ्ग्रिन लागेको मुलुकमा कित्ताकाटको नागरिक खण्डीकरण गर्ने राजनीतिक धु्रवीकरण किन गर्नुपर्‍यो ? आफ्नो मताधिकार प्रयोग गर्न, दल खोल्न, दलीय गतिविधि गर्न संवैधानिक स्वतन्त्रता हुँदाहुँदै किन वाम गठबन्धन प्रजातान्त्रिक कित्ता भनेर वर्गीय विभाजन गर्नुपर्‍यो ? यी
सबै नौटंकी देश, जनता, प्रजातन्त्र र मुलुकको दीर्घकालीन हितसँग सम्बन्धित छैनन् ।
लोकतन्त्रमा जसले जनताको मन जित्छ, उसले डराउनु पर्दैन । चुनावमा मतदाताले जिताउँछन् । कसैसँग टाँसिरहनु पर्दैन । राजनीतिमा क्षणिक गठबन्धन, कार्यगत एकता चुनावी तालमेल कायरहरूले गर्ने निकृष्ट खेलमात्र हो । आ–आफ्नो पहिचान, चुनाव चिन्ह, नीति कार्यक्रम र दलीय आदर्श बोकेर जनतामाझ जान नसक्ने कुनै पनि राजनीतिक दलको दीर्घकालीन भविष्य सम्भव छैन । आफूलाई जीवन्त प्रजातन्त्रको हिमायती भन्न रुचाउने नेपाली कांग्रेस राजा, राजतन्त्र, धर्मसापेक्ष पक्षधर, पुरातनवादी संस्कारमा हुर्किएका पुनरुत्थानवादी शक्तिसँग चुनावका बेला टाँसिन पुग्छ । यसलाई सैद्धान्तिक विचलन, राजनीतिक बेइमानी, लोकतन्त्रको खिलाफ र कायरताको पराकाष्ठा नभनेर के भन्ने ? सबैले चुनावलाई अवसरको रूपमा उपयोगमात्रै गर्न चाहेका त हैनन् ? शंका गर्ने ठाउँ प्रशस्तै छन् ।
– मधुसूदन ओझा
विराटनगर

पाठक मञ्च

जाडामा सजग बनौं

देशैभर जाडो बढेको छ । एक्कासी जाडो बढेर पुस–माघको जस्तो भएका कारण यसपाली चाँडै जाडो बढ्यो भनी मानिसहरू आत्तिएको देखिन्छ । जलवायु परिवर्तनको असरले मौसम पनि परिवर्तन भएको हो । जाडोबाट वर्षेनि मानिसको मृत्यु हुने गरेको छ । मुख्यत: विपन्न परिवार र हिमाली भूभागमा बसोबास गर्नेहरूलाई जाडोले बढी नै सताउने गर्छ । बालबालिका, सुत्केरी तथा बिरामी महिला र ज्येष्ठ नागरिकलाई जाडोबाट जोगाउनुपर्छ । किनकि उनीहरूको शरीर कमजोर हुने भएका कारण छिट्टै चिसोले समातेर मृत्युसमेत हुने गर्छ । त्यस्तै शीतलहरका कारण तराईमा वर्षेनि मानिसहरू मृत्युवरण गर्न बाध्य छन् । जाडोबाट जोगाउन अहिलेदेखि नै सरकारले उचित योजना ल्याउनुपर्ने देखिन्छ । मानिसले पनि खानपान, बसोबास, हिंँडडुलमा विशेष ध्यान पुर्‍याउनुपर्छ । तातो, झोलिलो पदार्थ बढी खाने, न्याना कपडा लगाउने र अस्वस्थ भएमा अस्पताल जानुपर्छ । जाडोबाट बच्न भन्दै न्यानोका लागि कोठाभित्रै आगो बाल्ने, हिटर ताप्ने गरेको पनि देखिन्छ । आगो बाल्दा होश पुर्‍याउनुपर्छ । न्यायो होस् भनेर बाल्दा त्यसको असर नकारात्मक पनि हुनसक्छ । यसमा विशेष ध्यान पुर्‍याउनुपर्छ । त्यस्तै ग्यास हिटर होस् या विद्युतीय बाल्दा पनि होश पुर्‍याउनुपर्छ । विद्युतीय बाल्दा करेन्ट लाग्न सक्छ । अहिले लोडसेडिङ न्यूनीकरण गर्ने कार्य भइरहेका बेला उपभोक्ताले पनि सकभर बढी विद्युत खपत गर्ने हिटर लगायत अन्य सामग्रीको प्रयोग नगर्दा उचित हुन्छ । मौसम परिवर्तनसँगै जाडो–गर्मी हुनु स्वाभाविकै हो । यसै अनुसार हामीले पनि खानपान, लगाइ–खवाइ, हिंँडडुल, रेखदेख आदिमा विशेष ध्यान दिनुपर्छ ।
– सरस्वती पाण्डे
धुनीबँेसी–९, धादिङ

पाठक मञ्च

फेरि जनस्वास्थ्यमाथि खेलबाड

काठमाडौंस्थित नेसनल मेडिकल कलेजलाई झूटो विवरणका आधारमा त्रिविले गत साउन १२ मा सम्बन्धन दिएपछि उठेको जनविरोधकोको लहरले गर्दा त्रिविले नै बनाएको छानबिन समितिले झुटो विवरण पेस भएको भनेपछि त्रिविले सम्बन्धन खारेज गरेको हो । यसबाट निकै लज्जाजनक तवरले मेडिकल कलेजहरूलाई सम्बन्धन दिने परिपाटीको अन्त्य हुने जनविश्वास लिइएको थियो । अहिले काठमाडौं नेसनल मेडिकल कलेजको अस्थायी सम्बन्धन खारेज गर्ने त्रिवि कार्यकारी परिषदको भदौ १७ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न भनिएको सर्वोच्चको अन्तरिम आदेशपश्चात उक्त कलेजको हैसियत त्रिविको अस्थायी सम्बन्धन पाएको मेडिकल कलेजसरह हुनपुग्नुले कलेजका सञ्चालक जैनुुद्दिन अन्सारीले अदालतको शरण परेपछि न्याय प्राप्त हुने दृष्टान्त प्रस्तुत गरेका छन् ।
– महेशप्रसाद ढुंगाना
नयाँबानेश्वर, काठमाडौं

पाठक मञ्च

दलहरूको गठबन्धन यात्रा

गठबन्धन मात्रै होइन, गतिलो उम्मेदवारको खोजीमा यतिबेला नेपालीहरू रहेका छन् । आफ्नो पक्षमा बहुमत ल्याएर ५ वर्षे सरकार सञ्चालनतर्फ ध्यानाकृष्ट गर्दैगर्दा जनता भने आफू र आफ्नो सुखदु:खमा साथ दिने, आफू र आफ्नोमात्रै नभनी आम जनचासो र जनसरोकारका मुद्दालाई उठान गर्नसक्ने, स्थानीय विकास निर्माणमा सहयोगी मनलाई नै खोजी गरिरहेका छन् । सधैं एउटै र पुराना अनुहारभन्दा पनि नयाँपनको खोजी मतदाताले जहिल्यै गरिरहेका हुन्छन् । यतिबेला जुन दलले योग्य, सक्षम र युवा उम्मेदवारको खोजी गर्नसके तिनै दलले स्पष्ट बहुमत पाउने निश्चित छ । यो पालि महत्त्वाकांक्षी योजनाभन्दा पनि यथार्थ र वस्तुपरक कार्यक्रमको खोजी गरी सर्वसाधारणको चित्त बुझाउन सक्नेले नै स्थान लिने देखिन्छ । मुलुकका
सबै दल वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमध्ये कुन कित्तामा उभिने भनी भन्दै गर्दा जनता भने गतिलो उम्मेदवारको खोजीमा व्यस्त छन् । क्षणिक लाभमा आधारित राजनीतिले
व्यक्ति र पार्टीको साख दिनदिनै गिर्दो छ । पार्टीहरूका हर्कतले गर्दा मतदातालाई दिग्भ्रमित गर्दैछ । कहिले माओवादी–कांग्रेसको गठबन्धन त कहिले माओवादी–एमालेको गठबन्धनले भोट जता हाले पनि उम्मेदवार गतिलो छान्नुपर्नेमा उनीहरू विश्वस्त रहेका छन् । दलहरूको गठबन्धन भनिए पनि दुई
दिन टिक्न नसकेको पृष्ठभूमि रहेकै कारण यो वा त्यो दलभन्दा पनि गतिलो उम्मेदवार चयनका लागि मतदाता आतुर रहेका छन् ।
– गोविन्द रिमाल
गैंडाकोट नगरपालिका–५, नवलपरासी

पाठक मञ्च

पहिला आफैं सचेत बनौं

राजावादी, नेतावादी बन्नुपुर्व पहिले आफैं सचेत बनौं । जबसम्म जनता आफै चेतनशील अनि विवेकशील हुँदैनन्, तबसम्म नत राजा नै आएर केही हुन्छ वा गतिलो नेता नै आएर केही हुन्छ या अमेरिकी रास्ट्रपति नै नेपालको विकासका लागि खटिए पनि केही हुन्छ । जति आदर्शका कुरा दर्शाएर, अरूलाई गाली गरेर फेसबुकका भित्ता भर्न सजिलो छ नि, त्योभन्दा कैयौं गुणा गाह्रो त्यो कुरा आफूमा लागू गर्न हुन्छ । जो मान्छे बढी आदर्शका कुरा गर्छ, ऊ नै काम नलाग्ने हुन्छ ।
समाजमा आफैले फत्ते गर्न सकिने कसैको बाटो हेरिरहनु नपर्ने धेरै काम छन् । फेसबुकमा स्टाटसलाई एकदिनको लागि स्थगित गरी सम्पूर्ण गाउँटोलबासी मिली त्यो क्षेत्रको विकासबारे छलफल गर्नु आफ्नो क्षेत्रको सफाइ अभियानको सुरुवात गर्नु हप्ताको एकदिनै काफी हुनेछ । तर यो त म विचराको दिवास्वप्न मात्रै हो । हाइ काढ्दै बस्न पल्केका, एक गिलास रक्सी, एक चोक्टा मासुमा बिकेका अनि अरूको बाटो हेर्ने बानी परेका, अरूलाई गाली गर्न पल्केका अल्छी नेपाली मनुष्यबाट यस्तो अपेक्षा राख्नु म नै गलत हुनेछु । पहिला आफूमा नै परिवर्तन गरौं, अनि अरूबाट पनि परिवर्तनको अपेक्षा राखौं, गर्दा सम्पूर्ण कुरा सामान्य नै छन्, नगरे भन्न सकिन्न ।
– सुभास्ना उप्रेती
क्यालिफोर्निया, अमेरिका

पाठक मञ्च

विखण्डनको कारण !

कात्तिक १५ गते प्रकाशित द. इकोनोमिस्टबाट अनुवादित ‘नयाँ जारको उदय’, पढेंँ । जारको पालामा त संसारका सबै देशमा एक प्रकारको जारशाही नै थियो । तर रूस कहाँ चुक्यो कि उसको खण्ड–खण्डमा विखण्डन हुनपुग्यो ? यसको लेखाजोखा हुनु अति आवश्यक छ । विखण्डनको कारण खोतल्दा कम्युनिष्ट व्यवस्था नै उसको कारकको रूपमा देखापर्छ । जार गए पनि स्टालिनभन्दा ठूलो जार अरू को हुनसक्छ र ? उनको दमनको पराकाष्ठाको घडा १९९० मा आएर फुट्नु नै थियो, फुटे । रूस बाहेकका अरू प्रदेशका जनता सबै त्राहिमाम थिए । अहिले पुटिनले जारशाहीको जुन रूप धरेका छन्, त्यो पनि त्यस्तै खतरनाक छ । पुटिनपछि रूसमा लोकतान्त्रिक शक्ति उदाउनेछ । कुनै पनि तानाशाहको दमनपछि लोकतान्त्रिक शक्ति नै उदाउँछ । कानुनी खोलभित्रको तानाशाह पनि बढी दिन टिक्न सक्दैन ।
– डा. शिवशंकर यादव
छपकैया, वीरगन्ज

पाठक मञ्च

परनिर्भर अर्थतन्त्रको मार

मौद्रिक नीतिको उपयोग उत्पादन क्षेत्रमा नभएको कारणले समग्र आर्थिक क्षेत्र, कृषि, उद्योग तथा सेवा व्यवसायको विकास र विस्तार हुनुको सट्टा खुम्चिन र ती क्षेत्रको मूल्य खस्किन गएको छ । यसले गर्दा सरकारी, निजी, सहकारी र गैरसरकारी क्षेत्रले आन्तरिक बजारमा उत्पादन गरिरहेको वस्तु र सेवाको परिमाण तथा गुणस्तर वृद्घि हुनुको सट्टा बाह्य बजारबाट उत्पादित वस्तु र सेवाहरूको क्रय, ओसार–पसार र उपभोग क्रियाकलापमा निर्भर अर्थतन्त्रको सिर्जना भएको छ । अहिले समग्र बैंकिङ, बिमा तथा सेवा व्यवसाय यिनै क्रियाकलापलाई टेवा पुर्‍याइरहेका छन् । यिनीहरूले देशको उत्पादन क्षेत्रका क्रियाकलापमा ध्यान केन्द्रित नगरेको हुनाले रोजगारी र आयमूलक व्यवसायको विकास र विस्तारमा चासो नदिँंदा पनि मौद्रिक नीति निर्माताहरूको ध्यान नपुगेको स्पष्ट देखिन्छ ।
त्यतिमात्र होइन, विदेशबाट विप्रेषण गरी पठाएको विदेशी मुद्रालाई उत्पादन क्षेत्रमा निर्देशित गर्नुको सट्टा कमिसन एजेन्टकै रूपमा विप्रेषण कम्पनीहरूमार्फत अति मूल्यवान विदेशी मुद्राको धनराशिलाई विलासी वस्तुहरू किन्न लगाउने भ्रष्ट नीतिको कारणले हाम्रा युवाहरूले कमाइ पठाएको रकमको पनि चरम दुरुपयोग भई देशको अर्थव्यवस्था कहालिलाग्दो उपभोग, व्यापार घाटा तथा भुक्तानी असन्तुलनको भुमरीमा फँसेको छ । नेपालमा मौद्रिक नीति निर्माण गर्ने निकाय नेपाल राष्ट्र बैंक स्वतन्त्र भए तापनि आफ्नो भूमिकाको ख्याल नगरी सट्टेबाजी र उपभोगवादी व्यवसायको प्रबद्र्धनमा नै रमाएको देखिन्छ ।
– रुद्रप्रसाद दाहाल
बल्खु, काठमाडौं

पाठक मञ्च

१२ वर्षपछि खोला पनि फर्कन्छ

‘१२ वर्षपछि खोला पनि फर्कन्छ’ भन्ने भनाइ बालकृष्ण ढुङ्गेलका लागि निकै सान्दर्भिक देखियो । अपराधलाई जुनसुकै आवरणमा लुकाउन खोजे पनि त्यसको पर्दाफास हुन्छ नै । ढुंगेलले गरेको करतुतलाई अदालतले दोषी ठर्‍याएपछि प्रमुख खोजीको विषय बनेका उनले एक दशकसम्म सुरक्षाकर्मीसँग लुकामारी खेलेर बिताए । जादुमय जीवनयापन गरिरहेका माओवादी नेता ढुंगेललाई माओवादी वा अन्य पार्टीको सरकारले समेत लामो समयसम्म अत्तोपत्तो गरेन । सात समुद्र पार गरेका अपराधी, दशकौँदेखि नाम र थर परिवर्तन गरेर बसेका हत्याराहरूलाई पत्ता लगाउन र पक्रन सफल नेपाल प्रहरीले देशभित्रै बस्ने र यदाकदा राजधानी र मोफसलमा झल्याक–झुलुक देखापर्ने बालकृष्णलाई पक्रन नसक्नु आफैमा आश्चर्यलाग्दो कुरा हो । उनको यो पक्राउ नियोजित वा संयोग के हो भन्न सकिने अवस्थामा छैन । अझ यस विषयलाई लिएर गरिने तर्क–वितर्कले आफ्नै छवि धुमिल हुने वास्तविकतालाई बुझ्न नसक्नु झनै लज्जास्पद कुरा हो । यस्तो कार्यले कसैको पनि जित र हार नभएर मानवअधिकारको सम्मान र न्यायालयप्रतिको विश्वसनीयता बढाएको छ ।
– लक्ष्मीनारायण मिश्र
शिवसताक्षी नपा–११, झापा

पाठक मञ्च

नेता

विश्वमाझ छ, नेपाल निरीह
अभाव, गरिबी, पीडा र विरह
शक्तिभन्दा ठूलो हो सक्षमता
यहीं विकास गराउन चाहुन् सबै नेता
देश गाडी, चालक हुन् नेता
मात्तिएर नपल्टाउन देश नेता
अपराध हो, विश्वासघात र परपीडन
जनताको लागि होस्, उपकारी मन
राजनीति होस् सेवा, होइन पेसा
आँसु नझरोस् जनको, पलाओस् आशा
अपांगलाई बैसाखी, खुसी विरहीलाई
पालन होस् निष्ठाले नेताको धर्मलाई
– प्रकाश भट्टराई
गैंडाकोट–१, नवलपुर

Page 7
विविधा

शिक्षा ऐन नवौं संशोधनको सन्देश

- प्रा. राजेन्द्रध्वज जोशी

चौतर्फी विरोधका बाबजुद संसदले शिक्षा ऐनको नवौं संशोधन पारित गरिछाड्यो । र राष्ट्रपतिबाट प्रमाणीकरण समेत भइसक्यो । सामुदायिक विद्यालयमा आश्रित विद्यार्थी र तिनका अभिभावकको हार भयो । राजनीतिक दलका कार्यकर्ता–शिक्षकको जित भयो । भनसुनको भरमा नभई आफ्नो क्षमताको आधारमा प्रतिस्पर्धा गरी शिक्षक बन्न लालायित शिक्षक अनुमतिपत्र प्राप्त ठूलो जमातको हार भयो । माननीयहरूको स्वार्थ सिद्ध भयो । प्रतिस्पर्धाबाट उत्कृष्ट ठहरिएका शिक्षकबाट सिक्ने अवसर विद्यार्थीले गुमाए । भनसुनका आधारमा पेसामा प्रवेश गरेका शिक्षकलाई स्वीकार्न तिनीहरू बाध्य भए । गुणस्तरीय शिक्षामार्फत आफ्ना बालबालिकाको उज्ज्वल भविष्यको सपना देखेका अभिभावकहरूमा निराशा छाउने भयो । अल्पसंख्यामा भए पनि सामुदायिक विद्यालयमा कार्यरत उत्कृष्ट तथा कर्तव्यनिष्ठ शिक्षकको मनोबल गिर्ने भयो ।
उत्कृष्ट शिक्षक र उत्कृष्ट व्यवस्थापन गुणस्तरीय शिक्षाका लागि पूर्वसर्त हुन् भन्ने कुरा माननीयहरूले पक्कै बुझ्नुभएको हुनुपर्छ । तर पनि प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएका उम्मेदवारहरूलाई मात्र शिक्षक बनाउन किन माननीयहरूले अन्कनाउनुभएको होला भन्ने कुरा छलफलको विषय बन्न अत्यावश्यक छ ।
शिक्षा विकासको सबभन्दा ठूलो पूर्वाधार हो । इस्वी सम्वत्को सुरुवाततिर भारतको कुल राष्ट्रिय उत्पादन विश्वको कुल उत्पादनको करिब ३१ प्रतिशत थियो । तर सन् १९७० पुग्दा यो भार ३ प्रतिशतमा झर्‍यो । यस आर्थिक ह्रासको शिक्षाको विकाससँग प्रत्यक्ष सम्बन्ध रहेको देखिन्छ । इस्वी सम्वत्को सुरुवाततिर भारत शिक्षामा अग्रणी थियो । सन् १९७० तिर त्यो स्थान पश्चिमा मुलुकहरूले लिइसकेका थिए ।
१०४ वर्ष लामो राणाशासनमा राणाहरूले आफ्नो शासन टिकाइराख्न जनतालाई शिक्षाबाट बञ्चित गर्ने रणनीति लिएका थिए । नेपाल पिछडिनुमा यही रणनीतिको प्रमुख भूमिका थियो । राणाशासनको पतनपछि जनअभियान मार्फत शिक्षामा पहुँच बढाउन नेपाललाई ठूलो सफलता मिल्यो । तर शिक्षाको गुणस्तर भने अपेक्षित रूपमा वृद्धि हुनसकेन । नेपालले यसको ठूलो मूल्य चुकाउनुपरेको छ ।
१०४ वर्षको राणाशासनको अवधिमा आर्थिक विकासमा नेपाल अन्य मुलुकका दाँजोमा जति पछि पर्‍यो, राणाशासन पश्चातको अवधिमा त्योभन्दा बढी पछि पर्‍यो । सन् १९६२ मा नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय ५० डलर हुँदा चीन, भारत र दक्षिण कोरियाको क्रमश: ७०, ९० र १२० डलर थियो । १९६२ देखि २०१६ सम्म, ५४ वर्षको अवधिमा नेपाल, चीन, भारत र दक्षिण कोरियाको प्रतिव्यक्ति कुल राष्ट्रिय आय क्रमश: १५, ११८, १९ र २३० गुणाले बढ्यो । यदि नेपालले शिक्षाको गुणस्तर अभिवृद्धिको लागि अविलम्ब ठूलो कदम नचाल्ने हो भने नेपाल एसियाको दोस्रो सबभन्दा गरिब मुलुकबाट संसारकै सबभन्दा गरिब मुलुक नबन्ला भन्न सकिंँदैन ।
शिक्षाको गुणस्तर उकास्ने नभई ह्रास गर्ने नवौं संशोधन पारित भएबाट बहुसंख्यक माननीयहरूलाई देशको दर्दनाक स्थितिको कुनै चिन्ता भएको देखिँंदैन । गरिब देशकै भए पनि माननीय हुनपाउँदा उहाँहरू रमाइराख्नुभएकै देखिन्छ । जनताले ठूलो दु:खकष्ट भोगेर तिरेको करको पैसा आफ्नै पैसासरह आफ्ना कार्यकर्तालाई बाँडेर माननीयको दर्जा जोगाउने दाउ खेल्न पाएपछि नरमाउनु पनि कसरी ?
जेजस्ता विकृतिको कुरा आए पनि राजनीतिक संक्रमणकालको नाममा ढाकछोप गर्ने प्रवृत्ति नेपाली राजनीतिमा हावी छ । संक्रमणकाल छिट्टै टुंगिनेछ र विकासले गति लिनेछ भनेर आश्वासन बाँडिने गरिएको छ । ६ दशकभन्दा लामो संक्रमण अवधि कष्टकर रूपमा भोगिसकेका जनतालाई यस्तो आश्वासनले कुनै अर्थ राख्दैन । राजनीतिज्ञहरूले विकासको लक्ष्यलाई सर्वोपरी मानेका छन् भनी ठान्ने पनि अवस्था छैन । विकास लक्ष्यलाई सर्वोपरी मानेको भए उहाँहरूले विकासको जग शिक्षालाई कमजोर पार्न हिच्किचाउनुहुने थियो ।
प्रजातन्त्रलाई तानाशाही राणाशासनसँग तुलना गर्न मिल्दैन । तर पनि तानाशाही प्रवृत्तिबाट देशलाई जोगाउन त्यस्तो तुलना पनि गर्नुपर्ने हुन्छ । राणाहरूले आफ्नो शासन टिकाउन जनतालाई शिक्षाबाट बञ्चित गर्ने प्रयास गरेका थिए भने आज राजनीतिक दलहरूले आफ्नो बर्चस्व कायम गर्न विद्यालयहरूमा कार्यकर्ता शिक्षक भर्ती गरेर जनतालाई गुणस्तरीय शिक्षाबाट बञ्चित गरिराखेका छन् । यस कदमले नेपाललाई समृद्धितिर नभई गरिबीतिर डोर्‍याउने निश्चित छ ।
नेपालमा जनउत्तरदायी सरकार बनेको छैन । मतदाताले योग्य तथा इमानदार जनप्रतिनिधि चुन्नसकेपछि मात्र जनउत्तरदायी सरकार बन्छ । गुणस्तरीय शिक्षाले मतदातालाई योग्य तथा इमानदार जनप्रतिनिधि चुन्न सहयोग गर्छ । गुणस्तरीय शिक्षा प्राप्त गर्ने दुई विकल्प छन् । नेपालमा जनउत्तरदायी सरकार बन्ला र गुणस्तरीय शिक्षा प्राप्त होला भन्ने प्रतीक्षा गर्दै बस्ने वा जनसमुदाय आफैले गुणस्तरीय शिक्षाको लागि पहल गर्ने ?
जनसमुदायको पहलमा वि.सं. १९९५ मा जुद्धोदय पब्लिक स्कुल स्थापना भएपछि साधारण जनताका छोराछोरीलाई विद्यालय शिक्षाको ढोका खुलेको थियो । त्यसअघि सरकारले जम्मा दुइटामात्र विद्यालय स्थापना गरेको थियो– १९१० सालमा दरबार हाइस्कुल र १९८७ सालमा पाटन हाइस्कुल । सरकारले विद्यालय स्थापना गर्ला र अनि आफ्ना बालबालिकालाई विद्यालय पठाउँला भनेर अभिभावकहरू पर्खेर बसेका भए धेरै बालबालिका शिक्षाबाट बञ्चित हुने थिए । दुई दर्जनजति विद्यालय बाहेक हालका सबै विद्यालय समुदायकै पहलमा स्थापना भएका हुन् । जनसमुदायकै पहलमा स्थापना भएको जुद्धोदय पब्लिक स्कुल गुणस्तरीय शिक्षाको लागि प्रख्यात थियो ।
कुनै पनि अभिभावकलाई आफ्ना बालबालिकाका लागि प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएका उम्मेदवारलाई शिक्षक बनाउने कि भनसुनका आधारमा पेसामा प्रवेश गरेका शिक्षकलाई निरन्तरता दिने भन्ने रोज्ने अवसर दिइएमा नि:सन्देह तिनले पहिलो विकल्प रोज्नेछन् । तर अभिभावकले सजिलोसँग उत्कृष्ट शिक्षक छान्न सक्ने हुँदाहुँदै किन यो जिम्मा माननीयहरूले लिनुपरेको हो भन्ने कुरा छलफलको विषय बन्नुपर्छ । यस छलफलको सिलसिलामा टड्कारो रूपमा उठने प्रश्न सामुदायिक विद्यालय कसको हो भन्ने हो । सामुदायिक विद्यालयलाई माननीय र कर्मचारीहरूले सरकारी भन्ने गरेको मात्र होइन, सरकारी मानेर नियन्त्रणमा समेत राख्ने गरेका छन् । नवौं संशोधन यही मान्यताको उदाहरण हो ।
प्रत्येक सामुदायिक विद्यालय समुदायको पहलमा जग्गा जुटाएर कक्षाकोठा बनाई शिक्षक भर्ना गरेपछि सरकारको अनुमति प्राप्त गरी सञ्चालन हुन्छ । यसरी स्थापना भई सञ्चालनमा आएका विद्यालय कसरी सरकारी हुन्छन् ? सरकारले आवश्यक खर्च नव्यहोरेका र व्यहोर्ने कुनै छाँटकाँट नल्याएका विद्यालय कसरी सरकारी हुन सक्छन् ? यस बाहेक शिक्षा ऐनको सातौं संशोधनबाट सार्वजनिकको सट्टा सामुदायिक नामकरण गरिएका विद्यालय कसरी सरकारी हुन सक्छन् ?
२०२८ सालसम्म विद्यालयको स्वामित्व र नियन्त्रण समुदायकै थियो । सरकारको अपर्याप्त अनुदानका बाबजुद पनि योग्य शिक्षक भर्ना गरेर समुदायले विद्यालय जवाफदेहीपूर्ण ढंगले सञ्चालन गरेकै थिए । २०२८ सालपश्चात अनुदानको सट्टा सीमित सरकारी शिक्षक विद्यालयमा पठाएर, विद्यालय व्यवस्थापन समिति कमजोर पारेर र विद्यालय शिक्षामा कर्मचारी हावी हुने कानुन बनाएर सामुदायिक विद्यालयको नियन्त्रण सरकारले हातमा लिएको हो । सरकारको आवश्यकता जनतालाई चाहिने तर जनताले आफै व्यवस्था गर्न नसक्ने सेवा दिनको लागि हुने हो । विद्यालय सञ्चालनजस्तो जनताले आफै व्यवस्था गर्नसक्ने सेवामा हात हालेर विद्यालय शिक्षालाई धराशायी पार्ने काम सरकारले किन गर्नुुपर्‍यो ?
यो हस्तक्षेप र नियन्त्रणको मुख्य उपलब्धि विद्यालयमा राजनीतिक दलका कार्यकर्ता शिक्षकका रूपमा भर्ना हुनपाएका छन् । तिनै कार्यकर्ताको नाजायज हित रक्षा गर्न माननीयहरू लाग्नुभयो । विद्यार्थीको गुणस्तरीय शिक्षा पाउने अधिकारलाई लत्याएर, देशको भविष्यमाथि खेलवाड गरेर र स्थानीय तहको अधिकार मिचेर कार्यकर्ता शिक्षकलाई खुसी पार्ने एकमात्र उद्देश्यले नवौं संशोधन पारित गरियो । नवौं संशोधनले दिएको स्पष्ट सन्देश : विद्यालय विद्यार्थी हितका लागिभन्दा कार्यकर्ता–शिक्षकहरूको हितका लागि हो ।
सामुदायिक विद्यालय सरकारी नियन्त्रणमा रहिरहेसम्म आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षा दिने अभिभावकहरूको आकांक्षा पूरा हुन सम्भव छैन । यसो हुँदा जनताको समृद्ध नेपालको सपना साकार हुने सम्भावना पनि देखिँंदैन । वि.सं. १९९५ मा जसरी समुदायका सक्रिय मानिस सरकारले विद्यालय खोल्ला र आफ्ना केटाकेटीलाई विद्यालय पठाउँला भनेर पर्खेनन् । अब पनि त्यसरी नै सामुदायिक विद्यालयका विद्यार्थीलाई गुणस्तरीय शिक्षाको अवसर सुनिश्चित गर्न अभिभावक र समुदाय आफै संघर्षमा उत्रने बाहेक अर्को विकल्प छैन ।
यस संघर्षको मूल उद्देश्य समुदायको सामुदायिक विद्यालयको गुमेको स्वामित्व पुन:स्थापित गरी विद्यार्थीको सिकाइलाई सर्वोपरी राखी विद्यालय व्यवस्थापन गर्ने विद्यालय व्यवस्थापन समितिको अधिकार पुन:स्थापित गर्ने हुनुपर्छ । राजनीतिक दलका कार्यकर्ता शिक्षक रहेको विद्यालय सुधार्न अति कठिन हुने कुुरा अभ्यासबाट देखिइसकेको हुँदा सरकारी शिक्षक नभएका अनुमति प्राप्त सामुदायिक विद्यालयहरू सुदृढ गर्ने र सरकारी शिक्षक बेगरको नयाँ सामुदायिक विद्यालयसमेत स्थापना गर्ने अभियान सुरु गर्नेतर्फ समेत ध्यान दिनु उपयुक्त हुन्छ ।

 

विविधा

सम्बन्धविच्छेद समाधान होइन

- बिन्दु अधिकारी ढकाल

वैवाहिक जीवनको असफलताको अन्तिम बिन्दु भनेकै सम्बन्धविच्छेद हो । हिजोआज नेपाली समाजमा सम्बन्धविच्छेदका घटना अधिक हुने गरेका समाचार सार्वजनिक भइरहेका छन् । उच्च तनाव अथवा खटपटी, एकाघरमा श्रीमान–श्रीमती सँगै बस्न नसक्नु, श्रीमतीसँग श्रीमान खुसी नहुनु असमझदारीको उच्चतम अवस्थाका कारण कानुनी हिसाबबाट श्रीमान–श्रीमती अलग–अलग हुनु नै सम्बन्धविच्छेद हो । बालविवाह, बहुविवाह, अनमेल विवाह, अन्तरजातीय प्रेमविवाह, असमझदारी, अपहेलना, गरिबी, सम्पत्ति, रोग, नि:सन्तान एवं शङ्कालु भावना लगायत विविध कारणले दाम्पत्य सम्बन्धमा चिसोपना ल्याउँछ ।
नेपाली समाज पुरुषप्रधान हो । यहाँको धार्मिक परम्परा र संस्कार बमोजिम महिलाले जहिले पनि दोस्रो दर्जाको नागरिक भएर बाँच्नुपर्ने बाध्यता छ । महिलाले आफू महिला भएर जन्मिएकै कारण बिभिन्न शारीरिक, मानसिक, सामाजिक विभेद खेपिरहेका छन् । बौद्धिक शोषण, दमन, यातना र दुव्र्यवहारमा पनि महिला नै पर्ने गरेका छन् । पछिल्लो समय बालिका तथा महिला आफ्ना नातेदार पुरुषबाट बलात्कृत भएका धेरै घटना सार्वजनिक भैरहेका छन् । ज्यादतीपूर्ण त्यस्ता घटनाका खबरले अखबारका पाना भरिएका हुन्छन् । बालिका तथा महिलामाथि हुने गरेका दर्दनाक यी घटनासँग जोडिएका सबै खाले अनैतिक कार्य हिंसा हुन् । यस्ता हिंसाजन्य अवस्थाले नै बाध्य भएर महिला आवाज बुलन्द गर्न अघि सर्छन् । न्यायको खोजीमा कानुनी ढोका घचघच्याउन बाध्य हुन्छन् । परम्परागत समाजमा पुरुषलाई बहुविवाह गर्न छुट थियो । त्यसमा महिलाले कुनै प्रतिकार गर्दैनथे । लोग्नेले आफूप्रति जस्तो व्यवहार गरे पनि निरीह भएर बाँच्थे । पति परमेश्वर भन्थे, तर अहिले कानुन बनेको छ । संस्कार पनि बदलिएको छ । एक महिला एक पुरुषको परम्परा बसेको छ ।
घरपरिवार सञ्चालन गर्न श्रीमान–श्रीमतीबीच समझदारपूर्ण भूमिका नै सर्वाधिक महत्त्वपूर्ण हुन्छ । सानो कामदेखि व्यावहारिक जीवनमा आइपर्ने हरेक पक्षमा आपसी समझदारी भयो भने साँच्चै त्यो घर मन्दिरझैं सुन्दर बन्न पुग्छ । पारिवारिक मेलमिलाप, छोराछोरीको स्याहार–सुसार, शिक्षादीक्षा, लेनदेनमा सत्य–तथ्य विवरण असल दाम्पत्य जीवनको दर्बिलो खम्बा बन्न सक्छ । दैनिकीसँग जोडिएका कतिपय घरायसी व्यवहारमा आपसी समझदारी र आपसी छलफल हुनैपर्छ । त्यसको अलावा एकल निर्णय भयो भने सम्बन्धमा खटपट सुरु हुन्छ । सल्लाह र समझदारी भएको कुरा पनि कहिलेकाहीँ बिग्रन सक्छ । त्यसबेला दुवैले संयम अपनाउनुपर्छ । परिवारको भलो दुवैले चिताएका हुन्छन् । कुनै कुरा बिग्रियो भन्दैमा कर्कश शब्दमा एकले अर्कोमाथि दोष थोपरिरहने गर्नु हँुदैन । लगातार एउटै कुरामा आक्षेप लगाउँदा सम्बन्धमा खल्लोपना आउँछ । भावनामा चोट पर्छ । हीनताबोधसँगै आत्मग्लानि पनि बढ्छ ।
वैवाहिक जीवनमा तनावको कारण पारिवारिक हस्तक्षेप पनि एक हो । दम्पतीबाट जन्मने सन्तान छोरा वा छोरी के जन्मनुपर्छ ? छोरा कति ? छोरी कति ? वा छोराछोरी दुवै बराबरी वा वंश धान्न छोरा नै चाहिने ? वर्षेनि छोरी जन्माउँदै छोराको बाटो हेर्ने वा भ्रूणहत्या गर्ने ? वा दोस्रो विवाह गरी पारिवारिक किचलो/झमेलामा पँmस्ने ? यी विषयमा श्रीमान–श्रीमती दुवैले समझदारीपूर्वक निक्र्योल गर्नुपर्छ । एक–अर्काको भावनाको कदर भयो भने सम्बन्धमा गाढापन थपिँदै जान्छ ।
बढ्दो सम्बन्धविच्छेदमा वैदेशिक रोजगारले पनि मलजल गरेको छ । हिजोआज के महिला के पुरुष, विदेशिनेहरूको सङ्ख्या उच्च हँुदै गइरहेको छ । कतिलाई श्रीमानले धोका दिएका छन् त कतिलाई श्रीमतीले धोका दिएका छन् । कतिले शङ्काको भरमा घर उजाड बनाएका छन् । कमाउन जानेहरूका दु:खपीडा एकातिर छ, फजुल खर्च गर्नेहरूको चरित्र अर्कोतिर छ । अनि यी दुवै खाले चरित्रको चेपुवामा लालाबाला, वृद्धवृद्धा परिरहेका छन् । देशमा रहेका युवाशक्तिको जोश–जाँगर तथा सीप पलायन भइरहेको छ । यसको सिधा असर श्रीमान–श्रीमती (परिवार) मै परेको छ । एकढिक्का भएर बाँच्नुपर्ने परिवार खण्ड–खण्ड भएर बाँच्न बाध्य छ । यसतर्फ जतिसक्दो चाँडो राज्यको ध्यान जान जरुरी देखिन्छ । राज्यले विदेश पलायन रोक्न आफ्नो देशमा रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ । त्यसो भए पारिवारिक निकटता कायम रहिरहन्छ । अभिभावकको संरक्षण सबैले पाइरहन्छन् । समाज समृद्धि बन्दै जाँदा घर–घरको अनिष्टता पनि टर्दै जान्छ ।
अहिलेका महिलाहरू स्वयं समृद्धिको बाटोतर्फ अघि बढ्दैछन् । परम्परागत भूमिकालाई तोड्दैछन् । तर त्यसो हँुदैमा महिलाले एकैपटक ठूलै स्वतन्त्रता उपभोग गर्न खोज्नु, चाहिने–नचाहिने कुरामा विभिन्न खाले तर्क गर्दै जानाजान सम्बन्ध बिगारेर आफू अलग हुने निर्णय लिनु पक्कै जायज होइन । पुरुषले पनि महिलाको बदलिँदो भूमिकालाई अस्वीकार गर्नु, उनीहरूको क्षमता पहिचान र कदर गर्न हिच्किचाउनु, मन छोटो बनाउनु हँुदैन । संसारको चक्र सही मार्गमा चल्न श्रीमान–श्रीमती ‘एक रथका दुई पाङ्ग्रा’ हुनैपर्छ । राजिखुसी, हाँसिखुसी रहनुपर्ने जीवनको सम्बन्ध टुट्नु, आपसी वैमनस्य बढेर साथ छुट्नु जीवनको अभिशाप हो । सन्तान–दरसन्तानको खुसी, परिवारको खुसी कुनैमा कदापि कलङ्क विजारोपण हुनुहँुदैन । सानोतिनो खटपट सुरु हुँदैमा त्यसले सम्बन्धविच्छेदको अवस्था नल्याइदेओस् । कानुनले सजिलो बनायो भन्दैमा त्यसको दुरुपयोग गरी आफू र सन्तानलाई सदाको पीडा, दु:खमा नहेलियोस् भन्ने हेक्का सबैले राख्नुपर्छ ।

विविधा

संकटतिर उन्मुख विश्व अर्थतन्त्र

- विकलचन्द्र आचार्य

सन् २००७–८ मा सुरु विश्व मन्दीपछिको दस वर्षले विश्वमा आर्थिक संकट अरू आउन सक्ने जोखिम बढिरहेको संकेत स्पष्टसँंग देखाएको छ । भविष्यमा हुनसक्ने यस्तो संकट सामनाको तयारी भने उति नभएको भनी विश्व आर्थिक मञ्च तथा अन्य निकायले चेतावनी दिइसकेका छन् । सम्बन्धित मुलुकहरूले आर्थिक वृद्धि तथा उत्पादकत्व बढाउन उचित नीति नअपनाएकाले पछिल्लो दस वर्षको अवधिमा दिगो आर्थिक उन्नति हुन बाधा परेको सर्वविदितै छ । अनियन्त्रित ऋण तथा विश्व बैंकिङ प्रणालीको सामथ्र्य अवलोकन गर्दा सन् २००७ को मन्दीको अवस्थामा पुग्न सक्ने धेरै आधार छन् । चीन, अमेरिका, बेलायत, जापान आदि देशको अर्थव्यवस्था नियाल्दा यसका संकेतहरू पाउन सकिन्छ ।
ऋणको भरमा आर्थिक वृद्धि गरिरहेको चिनियाँ रणनीतिलाई अन्तर्राष्ट्रिय मुद्राकोषले खतरा रूपले अगाडि बढिरहेको भन्दै वित्तीय उथल–पुथल हुनसक्ने जोखिम भएको ठहर गरेको छ । संसारको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा निजी क्षेत्रको ऋण अकासिएको र जटिल वित्तीय व्यवस्थापनले जेलिएको पनि मुद्राकोषले बताएको छ । सन् २०१० देखि अर्थतन्त्र दोब्बर बनाउने रणनीति लिएको चीनमा यस उद्देश्य पूर्तिमा गैरवित्तीय क्षेत्रको ऋण निकै बढेको छ । विश्व मन्दीपछि गत वर्षको अन्तिमसम्ममा चीनको ऋणभार चार गुणाले बढेर २८ ट्रिलियन डलर पुगेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले चीनको ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा २३५ प्रतिशतबाट बढेर सन् २०२२ मा ३ सय प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
संसारका मुख्य अर्थतन्त्रहरू सन् २००७, ००९ को आर्थिक मन्दीबाट माथि उठ्न असहज भइरहेको अवस्थामा चीनको आर्थिक वृद्धिदर भने विश्व अर्थतन्त्रको इन्जिन भएको छ । संसारमा वृद्धि भएको कुल गार्हस्थ उत्पादनमा आधाभन्दा बढी हिस्सा चीनको छ । चीनको अर्थतन्त्र बढाउन अवलम्बन गरिएको तरिका भने सोचनीय छ । पूर्वाधार लगानीमा सरकारी खर्च र सरकारी स्वामित्वको बैंकहरूको घरजग्गामा बढ्दो मुनाफाको लगानीले ऋणभार धेरै भएको छ । आर्थिक मन्दीले गांँजे यसबाट पार लगाउने चीनको क्षमता कम भएको विश्लेषण गर्न सकिन्छ । अन्तर्राष्ट्रिय अनुभवबाट चीनको ऋणभार वृद्धि खतरनाक अवस्थातर्फ बढिरहेको छ । यही रूपले जाने हो भने यसले विश्व अर्थतन्त्रमै असर पार्नेछ ।
बेलायतलाई पनि ऋणले उत्तिकै पिरोलेको छ । बेलायतको कुल आम्दानीको ९० प्रतिशत ऋणभार छ । सन् २००५ मा २० अर्ब पाउन्ड बजेट घाटा भएको बेलायतमा सन् २००८ को आर्थिक संकटले गर्दा सन् २००९ मा ५० अर्ब पाउन्ड र सन् २०१० मा १०३ अर्ब पाउन्डसम्म पुगेर २०१५ मा ५० अर्ब पाउन्ड बजेट घाटा झरेको छ । बेलायत सरकारको खर्चमा भारी कटौती भएको छ । जसको थप असर न्यून आय भएकालाई परिरहेको छ । बेलायतको जीवनस्तर कम हुनुका साथै कुल आम्दानी सन् २००८ को तहमै छ । बेलायतको घर व्यापार खासगरी लन्डन र यस वरिपरि निकै बढेको छ । यस ठाउंँमा घरको मूल्य प्रतिव्यक्तिको वार्षिक औसत आयभन्दा चौध गुणा बढी छ । परम्परागत रूपमा आठ गुणामात्र हुने गरेकाले यति धेरै मूल्यवृद्धि दिगो हुन गाह्रो हुन्छ । सन् २००८ को आर्थिक मन्दीपछि बेलायतमा ब्याजदर निकै कम अर्थात शून्य दसमलव २५ प्रतिशत छ ।
अमेरिकामा पनि ऋणको अवस्था चिन्ताजनक छ । गाडी किस्ताबन्दीमा किन्ने ऋण गतसात वर्षमा सत्तरी प्रतिशतले बढेको छ । यस्तो ऋण तिर्न असफल हुनेको संख्या साठी प्रतिशतले बढेको छ । गत दस वर्षमा बैंक अफ अमेरिकाको ब्यालेन्स सिट (वासलात) ५० प्रतिशतले बढेको छ भने अर्को बैंक जेपी मोर्गनको दुई तिहाइले बढेको छ र बीएनपीको १५ प्रतिशतले वृद्धि भएको छ । बैंक अलावा गैरवित्तीय क्षेत्र जस्तै– सम्पत्ति व्यवस्थापनहरू (एसेट म्यानेजर) को वृद्धिले जोखिम अरू बढाएको छ । संसारको सबैभन्दा ठूलो कोष व्यवस्थापन ग्रुपले ५.७ ट्रिलियन (५७०० अर्ब) डलरको सम्पत्ति व्यवस्थापन गर्छ । यसको तह दस वर्षको अवधिमा चारगुना ठूलो भएको छ । करिब आधाजति अमेरिकन इक्विटी फन्डहरू निष्क्रिय रूपले चलेका छन् । जसको अर्थ अस्थिरता कम हुन्छ, तर भएपछि निकै बढी हुनेछ ।
जापानको पनि ऋणभार उल्लेख्य छ । सन् १९९० को दशकमा डिफ्लेसन (मुद्रास्फितिको विपरीत) का कारण अर्थतन्त्रमा उतार–चढाव भइरहेको छ । डिफ्लेसन भनेको सामानको मूल्य सधैं घट्नु हो । यसो भए उपभोक्ताले सामानको दाम घट्ने आशाले किन्न हिचकिचाउँंछन् । फलत: आर्थिक वृद्धिदर कम हुनपुग्छ ।
सरकार र केन्द्रीय बैंकहरूले ठिक्क आर्थिक वृद्धिदर चाहन्छन् । धेरै वृद्धिदरले मुद्रास्फिति नियन्त्रणभन्दा बाहिर जाने र थोरै वृद्धि नभए गतिहीनता हुन्छ । त्यसैले उनीहरूको मुख्य उद्देश्यलाई गोल्डिलक्स अर्थतन्त्र भनिन्छ, जसको अर्थ न धेरै तातो न धेरै चिसो भन्ने हुन्छ । उनीहरूको मुख्य औजार वृद्धिका लागि ब्याजदर घटाउने वा बढाउने हुन्छ । कम ब्याजदरले व्यक्ति या कम्पनीहरूलाई पैसा बचत गर्नुभन्दा खर्च या लगानी गर्न उत्पेरित गर्छ । कम ब्याजदरको कारणबाटै व्यक्तिगत ऋण लिन उत्प्रेरित गरेकाले अब ब्याजदर बढाउनुपर्ने आवाज आए पनि ब्याजदर वृद्धिले तिर्नुपर्ने ऋणको ब्याज बढ्ने तथा लगानी कम हुनेहुंँदा यसको व्यवस्थापन चुनौतीपूर्ण रहँंदै आएको छ ।
दशक अघिको मन्दीपछि बैंकिङ क्षेत्रमा संरचनादेखि नीतिगत रूपले निकै सुधार गरिएको छ । बैंकका नीति निर्माताहरूले बैंकिङ नियम कडाइ पारेका छन् । बैंकले तरलताको रूपमा राख्नुपर्ने रिजर्भमा निकै कडा नीति बनाइएको छ । पश्चिमी बैंकहरूको अवस्था दस वर्ष अघिभन्दा निकै मजबुत छ । राजनीतिक नेतृत्व तथा वित्तीय क्षेत्रमा दशक अघिको मन्दीले सावधानी हुन निकै सिकाएको छ । जोखिम नहेरी ऋण दिने वित्तीय संस्था, हैसियतभन्दा बढी ऋण लिने व्यक्ति वा संस्था, नचाहिंँदो उत्पादनमा विज्ञापन र बजारीकरण गर्ने इन्भेस्टमेन्ट बैंकहरू, कम ब्याजदर बनाइ ऋण लिन उत्प्रेरित गर्ने नीति निर्माता, करको लोभ तथा वित्तीय संस्थाको सुपरीवेक्षण गर्ने सरकार सबैले आआफ्नो ठाउँंमा दोष लिनुपर्ने हुन्छ । तर पनि सरकारी एवं वित्तीय संस्थाको भूमिका र दायित्व नै प्रमुख रहन्छ । बिना आधार बेलगाम ऋणमा अर्थतन्त्र चलिरहे एकदिन भत्कन्छ भन्ने पाठ सन् २००८ को ‘क्रेडिट क्रन्च’ले सिकाए पनि विश्व अर्को आर्थिक मन्दीतर्फ लम्किंँदै गएको छ । समयमै सतर्कता अपनाई पाठ सिक्न जरुरी छ । नेपाल लगायत अरू मुलुकले पनि यसबाट धेरै कुरा सिकी आर्थिक नीति तर्जुमा गर्दा ध्यान पुर्‍याउनुपर्छ । चुरो कुरा, आर्थिक अनुशासन हर समय कायम राख्नसके दिगो आर्थिक वृद्धि हुनसक्छ ।
लन्डनमा रहेका आचार्य अर्थ व्यवस्थापन विज्ञ हुन् ।

विविधा

नेपालमा सी विचारधाराको प्रभाव

बेइजिङ डायरी
- चेतनाथ आचार्य

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को १९ औँ महाधिवेशनले राष्ट्रपति सी चिनफिङको विचारधारालाई पारित गर्दै पार्टीको विधानमा लेख्ने निर्णय गरेपछि यसको चर्चा नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अनौठो ढङ्गले गरे । सामाजिक सञ्जालमा हल्का ढङ्गले नेपालमा पनि सीवादी पार्टीको आवश्यकता रहेको कुरालाई विभिन्न तर्क दिएर प्रस्ट्याउन खोजेको देखिन्छ । यसबारे नेपालमा गम्भीर बहस भएको छैन । सामाजिक सञ्जालमा लेखिएकै भरमा नेपालमा सी चिनफिङ विचारधाराले तुरुन्तै प्रवेश पाउला भन्न सकिन्न, तर यसबारे बहस भने सुरु हुनेछ ।
चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा अब हुने जेजति बहस हुनेछन्, त्यसमा स्वत: सी विचारधारा जोडिन पुग्नेछ । त्यसो भए के अब चीनले अन्तर्राष्ट्रिय जगतमा सी विचारधारालाई निर्यात गर्दैछ ? यो प्रश्नमा चिनियाँ बुद्धिजीवीले सकारात्मक उत्तर नदिए पनि सम्भावना प्रचुर देखिन्छ । पानीको अणुमा हाइड्रोजन र अक्सिजन भएजस्तै चिनियाँ सहयोग र लगानीमा सी चिनफिङ विचारधारा सूक्ष्म रूपमै घुलिँदैछ ।
चिनियाँ कूटनीतिको मियो अर्काको देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने हो । यो कुरालाई सी चिनफिङले सीपीसीको १९ औँ महाधिवेशनको उद्घाटनमा प्रस्तुत गरेको प्रतिवेदनमा पनि समेटिएको छ । प्रतिवेदनमा उल्लेख छ, ‘नयाँ युगमा प्रवेश गरेको चीनले स्वतन्त्र र आफू मालिक हुने शान्तिपूर्ण कूटनीतिक नीतिलाई अक्षरश: पालना गरेको र विभिन्न मुलुकका जनताले स्वतन्त्र रूपमा विकास हुने बाटोको छनोट गर्ने अधिकारको सम्मान गरेको छ । अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षण गर्दै आफ्नो विचारलाई अरूमाथि लाद्ने कुराको चीनले विरोध गरेको छ । अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गरिने र दबाबद्वारा कमजोर मुलुकमाथि हुने थिचोमिचोको चीनले विरोध गरेको छ । चीनको विकासले कुनै पनि मुलुकका लागि त्रास–धम्की दिने छैन । जसरी विकास भए पनि चीन सधैँ एकाधिकार र विस्तारको विपक्षमा रहनेछ ।’
विशेषगरी ‘सफ्टपावर’मार्फत चीनले विश्वमा प्रभाव जमाउँदै लगेको छ । सन् १९८० पछि चीन शान्त रूपमा आफ्नोमात्र विकास गरिरहेको थियो । यसलाई विश्वले चिनियाँ विशेषता नै ठानेको थियो । आफ्नो विकासको तीन दशकको अनुभव समेटेपछि अहिले आफूमात्र समृद्ध बनेमा आफ्ना उत्पादनको बजार विस्तार नहुने कुरा चीनले थाहा पायो । फलत: दुई कदम अगाडि बढेर सत्तामा आउनासाथ सीले छिमेकीलाई पनि समृद्ध बनाउने घोषणा गरे । चीनले विकास गरेको प्रविधि र चीनमा थुप्रिएको विश्वकै सबैभन्दा ठूलो विदेशी मुद्राको सञ्चितीलाई विकासोन्मुख मुलुकमा लगानी गर्न चीनकै भाषामा ती मुलुकहरूलाई पनि समृद्ध बनाउन आवश्यक छ । चीन वरिपरिका बंगलादेश, म्यान्मार, भुटान, नेपाल, पाकिस्तान, भारत, भियतनाम, कम्बोडिया, मंगोलिया लगायतका मुलुकहरूलाई समृद्ध बनाएर चीन आफ्नो लगानीलाई फराकिलो बनाउन खोज्दैछ । चीनले विभिन्न मुलुकमा लाने लगानीका परियोजनाहरूमा अब बीआरआई र सी विचारधारा पनि उल्लेख हुनेछ ।
दिगो विकास, जनसहभागिता, वातावरण संरक्षण, गरिबी निवारण, शून्य भ्रष्टाचार, साझा जित, पारस्परिक सद्भाव, सांस्कृतिक संरक्षण लगायतका विषय चिनियाँ परियोजनाका मुख्य उद्देश्य हुन् । यी कुरा बीआरआईको अवधारणापत्रमा पनि उल्लेख छन् । यी सबै विषयहरूलाई चीनले सी चिनफिङ विचारधाराका रूपमा पनि लिपिबद्ध गर्दैछ ।
उल्लिखित कुरा सी विचारधाराका रूपमा चीनबाट निर्यात हुने सूक्ष्म र कम प्रभावकारी जस्ता देखिए पनि चीनको विकास मोडलबाट सी विचारधारा चाँडै फैलिनेछ । अहिले चीनले गरेको विकासको नमुना तथा गरिबी निवारणलाई विश्व अर्थशास्त्रका वैज्ञानिकहरू अध्ययन तथा विश्लेषण गरिरहेका छन् । गत वर्षदेखि चीनले विदेशी विद्यार्थीका लागि पीएचडीमा बीआरआई छात्रवृत्ति सुरु गरेको छ । अब अर्को वर्षदेखि सी विचारधारा र चिनियाँ विकास मोडलमा नयाँ छात्रवृत्ति खुल्नेछ । यसर्थ चीनले उच्च शैक्षिक कार्यक्रममा सी विचारधारालाई समेटेर विश्वमा विशेषज्ञ उत्पादन गर्दैछ । यस बाहेक चिनियाँ विकासका नमुना जहाँ लागू गरिएका छन्, त्यहाँ पनि सी विचारधारा पुग्नेछ । यसरी विश्वको कुनाकाप्चामा पुग्ने हरेक चिनियाँ नागरिकसँगै सी विचारधारा पनि पुग्नेछ । १ अर्ब ३७ करोड जनसंख्या भएको चीनमा जम्मा ८ करोड ९० लाखमात्र चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य छन् । चिनियाँ जनसंख्यामा जम्मा साढे छ प्रतिशतमात्र चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य रहे पनि चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य नरहेका चिनियाँले पनि सी चिनफिङले अगाडि सारेको विचारधाराको खुलेर प्रशंसा र समर्थन गरेका छन् । चीन बाहिर गरिने हरेक चिनियाँ व्यवसायमा बीआरआई र सी विचारधारा उल्लेख हुँदा उनीहरूलाई चीन सरकारबाट समर्थन, सहयोग र संरक्षण प्राप्त हुनेछ । यसर्थ उनीहरू सी विचारधाराका संवाहक हुनेछन् ।
चीन अहिले नेपालको सबैभन्दा ठूलो विकास साझेदार बनेको छ । नेपालमा चिनियाँ लगानीले भारतलाई उछिनेर पहिलो स्थानमा पुगेको छ । चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अभियानमा नेपाल सहभागी भइसकेको छ । बीआरआईसँग समान उद्देश्य राखेर चीनकै पहलमा खुलेको एसियाली पूर्वाधार लगानी बैंकको नेपाल संस्थापक सदस्य बनिसकेको छ । चीनले गर्ने सम्पूर्ण वैदेशिक लगानी र सहयोग अब बीआरआईमार्फत मात्र जाने गरी एकद्वार प्रणाली लागू गरिसकेको छ । नेपालमा जाने चिनियाँ लगानी र सहयोग पनि स्वत: बीआरआईको बाटो भएर जानेछ । सी चिनफिङको विचारधार र बीआरआईलाई चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा १९ औँ महाधिवेशनले राखेको छ । यसको अर्थ अब नेपालमा जाने चिनियाँ सहयोग र लगानीसँगै सी विचारधारा पनि अदृश्य रूपमा प्रवेश गर्नेछ । त्यसैगरी कन्फ्युसियस इन्स्टिच्युटमार्फत नेपालमा जति शैक्षिक संस्थाले चिनियाँ भाषा र संस्कृतिको पठनपाठन गराइरहेका छन्, त्यहाँ पनि सी विचारधारा पुग्नेछ । दुई देश बीचमा हुने सांस्कृतिक तथा जनस्तरका विभिन्न आदान–प्रदानमार्फत पनि सी विचारधारा नेपाल पुग्नेछ ।
नेपालमा चिनियाँ रेल गुडोस्, चिनियाँ पेट्रोल र ग्यास नेपाली बजारमा पुगोस्, चीनको जस्तै विकास होस्, चीनमा जस्तै गरिबी निवारण होस्, चिनियाँको जस्तै समृद्ध जीवनस्तर होस् भन्ने मनोभावना राख्ने नेपालीले सी विचारधाराको प्रशंसा गर्नेछन् । नेपालका मुख्य राजनीतिक दलहरूले पनि सी विचारधाराको प्रशंसा गरेर बधाई तथा शुभकामना दिएका छन् । त्यस्ता बधाई तथा शुभकामना औपचारिक भए पनि उनीहरूले चिनियाँ विकास प्रणालीलाई कसरी अवलम्बन गर्छन् भन्ने कुरा महत्त्वपूर्ण हो । चीनले बारम्बार बीआरआईका लागि परियोजना माग गर्दा पनि नेपाल आनाकानी गरिरहेको छ । जनताको दबाबमा बीआरआईमा हस्ताक्षर गरेको भए पनि नेपालकै हितमा रहेका परियोजना पेस गर्न हिचकिचाउनु नेपालमा चिनियाँ लगानी र सहयोगलाई निरुत्साहित गरेर विकासलाई पछाडि धकेल्नु हो ।
आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आई.) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन् ।
[email protected]

Page 8
Page 9
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

उत्साहजनक उम्मेदवारी

- कान्तिपुर संवाददाता

पोखरा– मंसिर २१ मा हुने दोस्रो चरण निर्वाचनका लागि प्रदेश नम्बर ४ का कास्की, पर्वत, पूर्वी नवलपरासी, तनहुँ र स्याङ्जालगायतका पाँच जिल्लामा बिहीबार उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
कास्कीमा राजनीतिक दलहरूले प्रतिनिधि र प्रदेशसभाका लागि उत्साहजनक रूपमा उम्मेदवारी दिए । कांग्रेस, वाम गठबन्धन, संघीय समाजवादी फोरम, राप्रपा, राष्ट्रिय जनमोर्चालगायतले उम्मेदवारी दर्ता राएका हुन् ।
कास्की क्षेत्र १ मा कांग्रेसबाट बहालवाला र वाम गठबन्धनबाट पूर्वमन्त्री प्रतिस्पर्धी उम्मेदवार भएका छन् । कांग्रेसबाट कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा र एमालेका पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी चुनावी मैदानमा उत्रिएका हुन् ।
क्षेत्र २ मा वाम गठबन्धनबाट एमालेका रवीन्द्र अधिकारी र कांग्रेसका देवराज चालिसेको मनोनयन दर्ता भएको छ । अधिकारी संसदको विकास समिति सभापति पनि भइसकेका
छन् । क्षेत्र ३ मा कांग्रेसका शुक्रराज शर्मा र वाम गठबन्धनका जगत विश्वकर्माले उम्मेदवारी दर्ता गरे । एमाले र माओवादी केन्द्र गठबन्धनमा कास्कीका तीनवटै प्रतिनिधिसभामा एमालेले उम्मेदवारी दिएको छ । ६ प्रदेश सभाका लागि तीन एमाले र तीन माओवादी केन्द्रका उम्मेदवारले उम्मेदवारी मनोनयन गरेका छन् ।
असन्तुष्ट कांग्रेस महाधिवेशन प्रतिनिधि नरेशशंकर पालिखेले क्षेत्र नम्बरको २ को प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभाका लागि कास्कीको क्षेत्र १ बाट १३, २ बाट १३ र ३ नम्बर निर्वाचन क्षेत्रबाट ११ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ तीनवटै क्षेत्रमा गरी ६४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरूले बाजागाजा र नारासहित जुलुस लिएर सहिद चोक पुगेका थिए ।
स्याङ्जा संवाददाताका अनुसार उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि २ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराए । उक्त क्षेत्रमा उनको प्रतिस्पर्धी वाम गठबन्धनले एमाले नेत्री पद्मा अर्याललाई बनाएको छ । क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका राजु थापा र वाम गठबन्धनबाट एमालेका नारायण मरासिनीले उम्मेदवारी दिएका छन् ।
हतारहतार फर्किएर उम्मेदवारी
पर्वत संवाददाताका अनुसार कांग्रेसको प्रदेशसभा क्षेत्र ‘ख’ का उम्मेदवार राजेन्द्र तिवारी बिहीबार बिहानसम्म काठमाडौंमै थिए । राति अबेरसम्म पूर्वमुख्यसचिव ऋषिकेश तिवारीको उम्मेदवारी पक्कापक्की भएको भन्दै कांग्रेस पर्वतले मनोनयनको तयारी त्यसैअनुसार गरेको थियो । मध्यरातमा एकाएक पार्टीले फरक निर्णय गरेपछि तिवारी हतारहतार जिल्ला फर्किएर उम्मेदवारी दिएका छन् । पर्वतमा कांग्रेसबाट पूर्वसांसद अर्जुनप्रसाद जोशी र वाम गठबन्धनबाट एमाले अध्यक्ष पदम गिरी उम्मेदवार छन् । पार्टीबाट टिकट नपाएपछि कांग्रेसका महासमिति सदस्य राम शर्मा पौडेलले प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ ‘क’ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
कैलाली ५ बाट आरजु देउवा
धनगढी– कैलालीमा पनि शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन भएको छ । क्षेत्र ५ बाट कांग्रेस नेत्री तथा प्रधानमन्त्री पत्नी आरजु देउवा र वाम गठबन्धनकातर्फबाट एमाले नेता नारदमुनि रानाले उम्मेदवारी दर्ता गराए । माओवादी केन्द्रका नेता पूर्वमन्त्री लेखराज भट्ट र कांग्रेसका सुनील भण्डारीले क्षेत्र . ४ बाट उम्मेदवारी दर्ता गराए । माओवादीका गौरीशंकर चौधरीले वामगठबन्धन र रामजनम चौधरीले कांग्रेसका तर्फबाट क्षेत्र ३ बाट मनोनयन दर्ता गरेका छन् ।
जेलबाटै उम्मेदवारी
टीकापुर घटनाका मुख्य अभियुक्त लक्ष्मण चौधरीले राजपाका तर्फबाट क्षेत्र ५ को प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।
चौधरीले वारेसमार्फत उम्मेदवारी दिए । थारू पुर्पक्षका लागि दुई वर्षदेखि कैलाली कारागारमा छन् । यस्तै क्षेत्र ५ मै कांग्रेस उम्मेदवार डा. आरजु देउवाविरुद्ध कांग्रेस नेता क्षितिज भण्डारीेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । ‘मेरो उम्मेदवारी परिवारवाद र पार्टीमा चलिरहेको हैकमवादका विरुद्ध हो,’ उनले भने ।


पौडेलविरुद्ध जोशी ‘बागी’
दमौली (कास)– तनहुँको क्षेत्र १ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उनकै सहकर्मी नेता बागी उठेका छन् । पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले स्वतन्त्रबाट मनोनयन दर्ता गराए ।
साबिकमा १ नम्बर रहेको उक्त क्षेत्रबाट पौडेल २०४८ मा विजयी भएका थिए । त्यसयता साबिकको २ नम्बर निर्वाचन क्षेत्रबाट उठेका उनले सबै चुनाव जित्दै आएका छन् । पछिल्लो निर्वाचन क्षेत्र वर्गीकरणमा १ नम्बर कायम उक्त क्षेत्रको टिकट आफैंले पाउनुपर्ने जोशीको दाबी थियो । २०४८, २०५१, २०५४ मा सोही क्षेत्रबाट विजयी जोशी २०६४ मा भने माओवादीका सुरेश आलेमगर सँग पराजित भएका थिए ।
१ नम्बरमा वाम गठबन्धनले भने एमालेका कृष्णकुमार श्रेष्ठलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ । २०७० को निर्वाचनमा श्रेष्ठ साबिकको २ नम्बरबाट पौडेलसँग पराजित भएका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

गृह जिल्ला गएनन् देउवा

वारेसमार्फत उम्मेदवारी दर्ता

डडेलधुरा (कास)– कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक गृह जिल्ला डडेलधुराबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । उनले पूर्वस्वकीय सचिव एवं जिल्लास्तरीय नेता गणेशप्रसाद पन्तलाई वारेस बनाई जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता गराएका हुन् । देउवाको समर्थकमा परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउद र प्रस्तावकमा जिल्ला पार्टी उपसभापति करुणाकर भट्ट छन् ।
सदरमुकामस्थित पार्टी कार्यालयबाट जुलुस र झाँकी प्रदर्शन गर्दै कार्यकर्ताले प्रतिनिधिसभामा देउवाको उम्मेदवारी दर्ता गराएका थिए । एक मात्र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र भएको जिल्लामा प्रदेशका दुई क्षेत्रबाट समेत कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ । प्रदेश नम्बर ‘क’ बाट निवर्तमान जिल्ला पार्टी सभापति रघुवर भट्ट र ‘ख’ बाट जिल्ला सभापति कर्णबहादुर मल्लले प्रदेशसभाको सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
देउवाको गृहजिल्लामा पार्टीको आन्तरिक जिल्ला कमिटीको चुनावपछि कांग्रेस दुई समूहमा बाँडिएका थिए । दुवै समूह देउवा निकट रहे पनि जिल्लामा बाँडिएका दुई समूहबीच चर्काे विवाद थियो । एउटा समूहको नेतृत्व निवर्तमान जिल्ला सभापति रघुवर भट्ट र अर्काे समूहको नेतृत्व जिल्ला सभापति कर्ण मल्लले गर्दै आएका थिए ।
स्थानीय तहको निर्वाचनमा दुई समूहको विवादले परिणाममा असर परेको थियो । पछिल्लो समयमा देउवाका विश्वासपात्र मानिएका थिए, भट्ट । चुनावमा जिल्लामा पार्टीभित्रको अन्तरकलहको असर आफूलाई समेत पर्ने देखेपछि देउवाले दुवै पक्षलाई मिलाएका छन् । उनले दुवैलाई प्रदेशमा उम्मेदवार बनाएका हुन् । दुवै नेताले उम्मेदवारी दिएपछि एकता र मतमतान्तर नभएको समेत उनीहरूले बताए ।
वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य खगराज भट्टले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । प्रदेशसभाको ‘क’ र ‘ख’ क्षेत्रबाट क्रमश: एमालेका पठानसिंह बोहरा र तारा जोशीले उम्मेदवारी दिएका छन् । यस्तै प्रतिनिधिसभामा कर्णसिंह राउलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

चितवनमा दशकपछि दाहाल

चितवन (कास)– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मनोनयन दर्ता गरेका छन् । उनी ११ वर्षपछि गृह जिल्लाबाट चुनावी मैदानमा उत्रेका हुन् । यहाँ वाम र लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले तामझामका साथ बिहीबार उम्मेदवारी दर्ता गराए । जिल्लाका ३ वटै निर्वाचन क्षेत्रको प्रतिनिधि र प्रदेशसभामा उम्मेदवारी दर्ता गरिएको छ । उम्मेदवारहरू बाजा/गाजासहित नाच्दै र गाउँदै उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।
वाम गठबन्धनबाट क्षेत्र १ मा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, २ बाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मनोनयन दर्ता गराएका छन् । यस्तै प्रदेशतर्फ ६ सिटमध्ये ४ सिट एमालेको भागमा परेको छ ।
यस्तै लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर १ मा कांग्रेसका राजेन्द्र बुर्लाकोटी, २ मा कांग्रेसकै शेषनाथ अधिकारी र ३ मा राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डे छन् । साँझ अबेरसम्म उम्मेदवारी दर्ता गर्न भीड लागेको थियो । त्यस्तै संघीय समाजवादी फोरम नेपाल, विवेकशील साझा पार्टी, नयाँ शक्ति, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललगायत पार्टीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पहिलो मनोनयन दर्ता भने क्षेत्र नम्बर २ बाट विष्णु पौडेलले स्वतन्त्र उम्मेदवारको रूपमा गराएका थिए । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मध्याह्नपछि मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । अध्यक्ष दाहालको प्रस्तावक माओवादी केन्द्रका अमिक शेरचन र समर्थकको रूपमा एमालेका क्षेत्र नम्बर ३ का संयोजक रामजीप्रसाद सापकोटा रहेका छन् । वाम गठबन्धनले जिल्ला प्रहरीअघिको चौरमा र लोकतान्त्रिक गठबन्धनले चौबीसकोठीमा सभाको आयोजनासमेत गरेका थिए ।
‘गृह जिल्ला आउन ११ वर्ष लाग्यो’
माओवादी केन्द्रका अध्यक्ष दाहालले पहिलोपटक गृह जिल्लाबाट चुनावी प्रतिस्पर्धा गर्न लागेको बताए । ‘गृह जिल्ला आइपुग्न ११ वर्ष लाग्यो,’ मनोनयन दर्तापछि उनले भने, ‘यो भन्दा पहिला रोल्पा, काठमाडौं र सिरहाबाट चुनाव लडेँ, अहिले आफ्नो जिल्लामा आएर चुनाव लड्न पाउँदा हर्षको अनुभूति भएको छ ।’
अहिलेको निर्वाचन वामपन्थी एकता कायम गरेर कम्युनिस्ट शक्तिलाई एक ठाउँमा केन्द्रित गर्ने उद्देश्यका साथ नयाँ तालमेलसहित आफू चितवन आउने अवसर मिलेको बताए । ‘यो पनि मैले एउटा ऐतिहासिक क्षण महसुस गरेको छु,’ उनले भने, ‘जनतामा उत्साह छ, देशमा एउटा राजनीतिक स्थिरता आउँछ, ७० वर्षदेखि हुन नसकेको कुरा यो पटक हुन्छ ।’ उनले यस पटक देशमा स्थिर सरकार बन्ने धारणा व्यक्त गरे ।

Page 10
Page 11
कला र शैली

“दण्डहीनताको विरोधमा अवार्ड बहिष्कार गरें”

फिल्म साउथ एसिया
- कान्तिपुर संवाददाता
भारतीय फिल्ममेकर तपन बोस

काठमाडौं– भारतका तपन बोस यस्ता फिल्ममेकर हुन् जो संस्थापन (इस्टाब्लिसमेन्ट) विरुद्ध लगातार लडिरहेका छन् । राज्यले दिन चाहेका दुइटा फिल्म अवार्ड त उनले अस्वीकारै गरिदिए । आफूले किन यस्तो गरेँ भन्नेबारे बोसले बिहीबार नेपाली दर्शकलाई बताए । उनी अहिले ‘फिल्म साउथ एसिया’ को एघारौं संस्करणमा भाग लिन नेपाल आएका छन् ।
‘अत्याचारविरुद्ध आवाज उठाउने नागरिकलाई सरकारले सुरक्षा दिएको छैन,’ बोसले भने, ‘उसले त बरु त्रास र अनुदारतालाई प्रश्रय दिइरहेको छ । सन् १९८० मा ब्यान्ड गरिएका मेरा फिल्मलाई जुरीहरूको पहलले अवार्ड मिल्यो । अहिले त जुरीले पहलले गर्न सक्ने अवस्थासमेत छैन ।’ रुलिङ पार्टीका कार्यकर्ताले खुलेआम वितण्डा मच्चाइरहँदा पनि सरकार मूकदर्शक बन्नुलाई उनले विडम्बना माने ।
दण्डहिनता मौलाउन दिएको विरोधस्वरूप अवार्ड रिजेक्ट गरेको उनले बताए ।
आफू मोदी सरकारको कदमप्रति असन्तुष्ट रहेको पनि बोसको भनाइ थियो । ‘उहाँ सधंै करोडका कुरा गर्नुहुन्छ,’ पत्रकारसमेत रहेका उनले ठटयौलो शैलीमा भने, ‘कहाँबाट ल्याउनुहुन्छ त्यत्रो पैसा !’
दक्षिण एसियाली डकुमेन्ट्री फेस्टिभलको पहिलो दिनमै बोसको फिल्म ‘द एक्सपेन्डेबल पिपल’ प्रदर्शन गरिएको थियो । यसमा उनले भारतका आदिवासीहरूमाथि राज्यले देखाएको खस्रो व्यवहार प्रस्तुत गरेका छन् । ‘सन् १९८१ देखि यो फिल्म खिच्न सुरु गरेको थिएँ,’ ५८ मिनेट लामो डकुेमेन्ट्रीबारे उनले भने, ‘पुराना फुटेज धेरै छन् । पोहोर मात्र काम सकेको थिएँ ।’
आदिवासी को हुन्, के हुन्, विकासका नाममा तीमाथि कस्तो व्यवहार गरिएको छ भन्नेबारे डकुमेन्ट्रीमार्फत उत्तर दिन खोजेको बोसको भनाइ थियो । सन् २००६ मा लागू गरिएको ‘फरेस्ट राइट’ को गलत अर्थ लगाएर ‘विकासवादी’ हरूले जंगल छेउछाउ बस्ने आदिवासीलाई नै जंगल प्रयोग गर्न नदिएको घटनामाथि उनको फिल्म केन्द्रित छन् । आदिवासीमाथि भुटान, बर्मालगायत दक्षिण एसियाली मुलुकमा पनि राम्रो व्यवहार नभइरहेको बोसको बुझाइ छ । ‘व्यावसायिक प्रयोजनका लागि आदिवासीहरू आफ्नो ठाउँबाट लखेटिएका छन्,’ उनले भने, ‘तिनलाई सुरक्षा र स्वतन्त्रता दिनुको सट्टा सरकार बहकिएको छ ।’
बोसले नन–फिक्सन विधामा थुप्रै फिल्म बनाएका छन् । सन् १९८१ को ‘एन इन्डियन स्टोरी’ र १९८६ को ‘भोपाल : बियोन्ड जेनोसाइड’ का लागि उनलाई राष्ट्रिय फिल्म अवार्ड दिइएको थियो जुन उनले अस्वीकार गरिदिए । ती डकुमेन्ट्रीमा उनले भागलपुर प्रहरीले ट्रायलमा रहेका कैदीहरूका आँखा फुटाएको घटना र झन्डै २५ सयको ज्यान गएको ‘भोपाल ग्यास ट्राजिडी’ को यथार्थ समेटेका छन् । उनका ‘फ्रम बिहाइन्ड द ब्यारिकेड’, ‘झारखण्ड’, ‘द भल्नरेबल रोडयुजर’ जस्ता डकुमेन्ट्री पनि कहलिएका छन् ।
फिचर फिल्ममा चाहिँ किन हात नहालेको भन्ने प्रश्नमा उनी बोले, ‘फिचर फिल्म र डकुमेन्ट्रीमा खासै भिन्नता देख्दिनँ । डकुमेन्ट्री अलि बढी च्यालेन्जिङ छ जस्तो लाग्छ । फिल्म कथावाचनको शैली हो । यसलाई महँगो आर्ट फर्म मान्छु ।’ फिल्म समीक्षक समाज नेपाल (फिक्सन) सँगको अन्तरक्रियामा उनले प्रायोजित र स्वतन्त्र फिल्म निर्माणबारे पनि आफ्नो धारणा राखेका थिए । ‘इन्डिपेन्डेन्ट फिल्म–मेकिङमा निर्देशकले बिनारोकटोक आफ्नो कौशल देखाउन पाउँछ,’ उनले भने, ‘विषयले भन्ने कुरा तिनले जस्ताको तस्तै देखाउँछन् ।’
फेस्टिभलको पहिलो दिन बिहीबार ‘थर्टी टु सोल्स’ र ‘स्प्लिट इन्ड्स’ प्रदर्शन गरिए । साई नव खाम निर्देशित अघिल्लो डकुमेन्ट्रीमा एक वृद्धामार्फत म्यान्मारको ग्रामीण जनजीवन देखाइएको छ । पोर्चुगलको लिस्बन सहरमा नेपालीले चलाएको सैलुनभित्रको गतिविधि ‘स्प्लिट इन्ड्स’ मा समाविष्ट छ । ‘थेसिस–फिल्म बनाउनु थियो मैले,’ निर्देशक राजन कठायतले भने, ‘त्यो सैलुन नेपालीहरूको जक्सन रहेछ । त्यहाँको गतिविधिमार्फत विदेशमा नेपालीले बेहोर्ने कठिनाइ देखाउन खोजेको हुँ ।’
फेस्टिभलमा ‘वेलकम भ्यालेन्टाइन २०१७’, ‘टाइम भ्याम्पायर्स’, ‘ड्रिम्स अन हिल्स’, ‘प्वाइन्ट एन्ड सुट’, ‘द म्यान हु डाफ्र्ड द माउन्टेन्स’, ‘फ्लेम्स अफ फ्रिडम : द इच्छापुर डिक्लारेसन’ र ‘फायरफ्लाइज इन द अबिस’ पनि प्रदर्शित भए ।
शुक्रबारको सोमा ‘डान्सिङ विद डली’, ‘आक्स द सेक्सपर्ट’, ‘वर्मा स्टोरीबुक’ लगायत डकुमेन्ट्री देखाइनेछन् । फेस्टिभल आइतबारसम्म चल्नेछ ।

कला र शैली

‘कान्छी’ को चरी गीत

‘कान्छी’ का निर्देशक आकाश अधिकारी (बायाँ) तथा कलाकारद्वय श्वेता खड्का र दयाहाङ राई । तस्बिर सौजन्य : उद्धव रसाइली

काठमाडौं (कास)– नायिका श्वेता खड्काले बनाएको फिल्म ‘कान्छी’ को बिहीबार नयाँ गीत ‘चरी चट्ट परी...’ को भिडियो रिलिज गरिएको छ । राजनराज सिवाकोटीको रचना तथा संगीत रहेको उक्त गीत सिवाकोटीले अञ्जु पन्तसँग मिलेर गाएका हुन् । गीतमा दयाहाङ राई र श्वेतासहित अर्का कलाकार प्रज्ज्वल सुजल गिरी पनि फिचरिङ छन् ।
दयाहाङ नृत्यमा सहज महसुस गर्दैनन् । नाच्न नरुचाउने उनलाई यसपटक कोरियोग्राफर वसन्त श्रेष्ठले पूरा गीतमा नचाएका छन् । ‘मलाई भिरालो मैदानका कारण नाच्न अलिक गाह्रो भयो,’ दयाहाङले ‘नाच्न नजान्ने आँगन टेढो’ उखानलाई नै मिल्ने गरी आफैंलाई उडाउँदै भने, ‘अरूले फाइटमा रगत निकाल्छन्, मैले नाच्ने क्रममा श्वेतालाई नै निकाल्दिएँ ।’
श्वेताले भने दयाहाङको अभिनयबाट प्रभावित रहेको बताइन् । ‘उहाँसँगै स्क्रिन सेयर गर्न पाउँदा खुसी छु,’ उनले भनिन् । त्यसो त दयाहाङले पनि समकक्षीसँग थुप्रै फिल्ममा काम गरे पनि यसपटक नीर शाहजस्ता वरिष्ठ कलाकारदेखि निर्देशक आकाश अधिकारीसम्मसँग काम गर्ने अवसर जुराइदिएकामा श्वेतालाई धन्यवाद दिए । उनले खास गरी आफूलाई नचाइदिने कोरियोग्राफर श्रेष्ठप्रति खुसी व्यक्त गरे ।
कार्यक्रममा ३३ वर्षअघि निर्मित ‘कान्छी’ का जोडी शिव श्रेष्ठ र शर्मिला मल्ललाई नयाँ ‘कान्छी’ टिमले सम्मान गर्‍यो । यम थापाको लेखन रहेको फिल्ममा आशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिया, विनोद न्यौपाने, रमेश अधिकारी, जयनन्द लामाको अभिनय छ ।

 

कला र शैली

जेनिफर–एलेक्स “जुम्ल्याहा जस्ता”

जेनिफर लोपेज र एलेक्स रोड्रिगेजको मायाप्रेम मौलाउँदो छ । यही वर्षको फेब्रुअरीदेखि उनीहरू सम्बन्धमा छन् । लोपेजकै पहलमा दुईबीच बातचित र भेटघाट सुरु भएको थियो । रेस्टुरेन्टमा खाजा खाइरहेका बेसबल खेलाडी एलेक्सलाई जेनिफरले ‘हे, म जेनिफर’ भन्दै अभिवादन गरेकी थिइन् । ‘उनलाई देखेपछि मलाई के भयो कुन्नि,’ ४८ वर्षे जेनिफर भन्छिन्, ‘एलेक्स  भन्दै चिच्याइछु । म त्यस्तो गर्ने मान्छे होइन ।’
झन्डै बाह्र वर्षअघि मार्क एन्थोनीसँग वैवाहिक जीवन बिताइरहेकै बेला जेनिफरले एक्लेक्सलाई चिनेकी थिइन् । उनीहरूबीच हाई/हेलो सम्बन्ध थियो । तर, फेब्रुअरीमा एलेक्सलाई देख्दा आफू अनायसै उनीतिर तानिएको ‘जेनी फर द ब्लक..’ गायिकाले बताइन् । ‘म सेड्स अफ ब्लु शृंखलाको प्रोमोको सुटिङ सकेर निस्किएकी थिएँ,’ उनी भन्छिन्, ‘जिन्स, टिम्बरल्यान्ड जुत्ता, छोटो कर्ली कपालमा केटा जस्ती देखिन्थेँ । त्यस्तै लुक्समा एलेक्ससामु पुगेँ ।’
जेनिफरलाई हेर्दै एलेक्सले ‘तिमी राम्री देखिएकी छौ’ भनेछन् । उनले डिनरका लागि निम्ता गरेपछि जेनिफर रौसिँदै बाटो लागेकी थिइन् । पहिलो डेट होटल बेल–एयरमा भएछ । ‘उनी एकदम कन्फिडेन्ट भएर बसिरहेका थिए,’ जेनिफर भन्छिन्, ‘म पुगेपछि फतरफतर बोल्न थाले । आफ्नो व्यवसाय, खेल जीवन, भविष्यप्रतिको चिन्ता आदिबारे बताउन थाले । मैले चुपचाप सुनिरहेँ । त्यो डेटिङ थियो कि के ?’
भ्यानिटी फेयर म्यागाजिनसँगको कुराकानीमा स्टार जोडीले आफूहरूको पारिवारिक योजनाबारे पनि बताएका थिए । दुवैले आआफ्ना परिवार मर्ज गर्न लागेका रहेछन् । जेनिफरका म्याक्स र एमी जुम्ल्याहा सन्तान छन् भने एलेक्सका दुई छोरी छन् । आफूहरू समानान्तर जिन्दगी बाँचिरहेको र एकअर्काको साथले धेरै सहज भइरहेको उनीहरूले बताएका छन् । ‘हामी टीन्स जस्तै छौं,’ एलेक्स भन्छन्, ‘दुवै सिंह राशिका हौं । दुवै न्युयोर्कमा बस्छौं । दुवै ल्याटिनो (ल्याटिन अमेरिकी) हौं । यस्ता मिल्ने कुरा थुप्रै छन् ।’

Page 12
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

शक्ति प्रदर्शनको होडबाजी

- कान्तिपुर टिम
दैलेखमा बिहीबार मनोनयन दर्ताका लागि जाँदै वाम गठबन्धनका नेता–कार्यकर्ता । तस्बिर : कान्तिपुर

प्रदेश ७ का अछाम, डोटी, डडेलधरा, कैलाली र कञ्चनपुरमा बिहीबार उल्लासमय वातावरणमा उम्मेदवार मनोनयन दर्ता भएको छ । ५ वटै जिल्लाका सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा परम्परागत बाजागाजा, झन्डा र ब्यानरसहित पुगेका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । टिकट नपाएर असन्तुष्ट बनेकाहरूले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरे ।
प्रतिनिधिसभामा ३ र प्रदेशमा ६ निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभामा २९ र प्रदेशमा ४८ जनाले उम्मेदवारी दिएका हुन् ।
दुई प्रमुख गठबन्धनसहित पहिलो पटक विवेकशील साझा पार्टीले पनि उम्मेदवारी दिएको छ । यसका साथै नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (एकीकृत) सँगै स्वतन्त्र उम्मेदारहरूले पनि मनोनयन दर्ता गराए ।
कांग्रेस र एमाले दुवैमा बागी
कञ्चनपुरमा प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस र एमाले दुवै दलका तर्फबाट बागी उम्मेदवारी परेको छ । कांग्रेसबाट प्रतिनिधिसभा क्षेत्र नं. २ मा कांग्रेसका सिद्धराज भट्टले र ३ मा प्रेम विष्टले बागी उम्मेदवारी दिएका छन् । कांग्रेसबाट प्रदेशतर्फ क्षेत्र नं. १ को ‘ख’ मा नरसिंह विष्टले पनि बागी उम्मेदवारी दिएका छन् ।
यसैगरी प्रतिनिधिसभा क्षेत्र नं. ३ मा एमालेका हीरा सिंह विष्ट र प्रदेशसभामा ३ (क) मा एमालेका कर्णबहादुर चन्दले बागी उम्मेदवारी दिएका छन् । यसैगरी प्रदेशतर्फ क्षेत्र नं. १ (ख) मा एमालेका राजेन्द्र जोशी पनि बागी उठेका छन् ।
अन्तिममा फेरियो टिकट
वाम गठबन्धनबाट प्रदेशसभा १ को (ख) बाट एमालेकी मर्यादा विष्टको टिकट टुंगो लागे पनि अन्तिममा उम्मेदवारको नाम फेरिएको छ । बुधबार साँझसम्म मर्यादाको नाम चर्चामा रहे पनि बिहीबार एकाएक उक्त टिकट कुलवीर चौधरीले पाएका हुन् । उक्त क्षेत्रमा व्यापक असन्तुष्टि देखिएपछि एमालेले आफ्नो भागमा परेको प्रदेशको टिकटमा हेरफेर गरेको हो ।
अछाम क्षेत्र १ मा वाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावल र कांग्रेसका तर्फबाट जिल्ला सभापति एवं पूर्वजिविस सभापति भरतकुमार स्वाँरले उम्मेदवारी दर्ता गरेका छन् । डोटीमा वाम गठबन्धनसहित ७ दलका २० जनाले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभाका लागि ७ र प्रदेशसभाका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र कायम भएको डोटीमा ५ दलले उम्मेदवारी दिए । कांग्रेसका तर्फबाट बहालवाला भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् । यस्तै वाम गठबन्धनको तर्फबाट एमाले केन्द्रीय वैकल्पिक सदस्य प्रेमबहादुर आलेमगरले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
शशांक पूर्वी नवलपरासीबाट
कांग्रेसका महामन्त्री शशांंक कोइरालाले पूर्वी नवलपरासीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । उनी गैंडाकोटदेखि कावासोती निर्वाचन कार्यालयसम्म कार्यकर्ताको लस्करसाथ पुगेका थिए । यसअघि दुई पटकको संविधानसभा सदस्यमा विजयी भइसकेका कोइरालाले तेस्रो पटक सोही क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । मनोनयनपछि कोइरालाले सञ्चारकर्मीसँग वामपन्थीको एकताले लोकतन्त्रवादीलाई नजिकिन सघाएको प्रतिक्रिया दिए ।उक्त क्षेत्रमा कोइरालाको प्रतिस्पर्धी वाम गठबन्धनले माओवादीका भविश्वर पराजुलीलाई बनाएको छ ।
कांग्रेसमा पुराना, एमालेमा नयाँ
बारामा मनोनयन दर्तासँगै चुनावी सरगर्मी बढेको छ । यहाँ कांग्रेस, वाम गठबन्धन र मधेसवादी दलबीच त्रिपक्षीय भिडन्त हुँदै छ । गाउँगाउँबाट बाजागाजासहित कार्यकर्ताको ठूलै भीड लिएर आएका उम्मेदवारले बिहीबार सदरमुकाम कलैयास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए । मंसिर २१ गते हुने चुनावको लागि कतिपयले स्वतन्त्र उम्मेदवारी हालेका छन् ।
सबै ठाउँको मनोनयन दर्ता शान्तिपूर्ण र उल्लासमय भएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताए । जिल्लामा प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ निर्वाचन क्षेत्र छन् । वाम गठबन्धनका तर्फबाट एमालेले पाएका ३ वटा निर्वाचन क्षेत्रमा नयाँ अनुहार ल्याएको छ । प्रतिनिधि र प्रदेशसभा दुवैमा नयाँ अनुहार छन् । कांग्रेसले भने प्रतिनिधिसभाका चारवटै क्षेत्रमा पुरानैलाई उठाएका छन् । माओवादी केन्द्रले पनि नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । कतिपय ‘डमी’ उम्मेदवार पनि देखिएका छन् । संघीय समाजवादी र राजपाको गठबन्धनमा समेत केही नयाँ र केही पुराना नेता भिडदै छन् ।
मोरङमा १९४
प्रतिनिधिसभाका लागि ६ र प्रदेशसभाका लागि १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा १ सय ९४ जनाले उम्मेदवारी दत्र्ता गराएका छन् । क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यका लागि ११ जना, २ मा १२, क्षेत्र ३ मा १५, ४ मा ११ जना, क्षेत्र ५ मा ७, ६ मा ११ जनाले उम्मेदवारी दत्र्ता गराए ।
संघीय समाजवादीका अध्यक्ष कांग्रेस उम्मेदवार
इलाममा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष देवेन्द्र राई कांग्रेसका तर्फबाट क्षेत्र १ को प्रदेश ‘क’ बाट उम्मेदवार बनेका छन् ।
२०५९ मा कांग्रेस छाडेर समाजवादीको जिल्ला नेतृत्व सम्हालेका राईले पुरानो घर फर्किएको बताए । कांग्रेसको सिफारिसमा परेका उम्मेदवारलाई पछि पार्दै उनी टिकट लिन सफल भएका हुन् । राईसँगै लिम्बुवानको मुद्दा उठाउँदै आएको संघीय लिम्बुवान पार्टीका अध्यक्ष डम्बुर लोरेङदेन पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

‘बागी’ ले नै पाए टिकट

नवलपरासी (कास)– कांग्रेसले अघिल्लो चुनावमा पार्टीकै आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका गुणनिधि तिवारी र उनैका प्रस्तावक बैजनाथ जयसवाललाई प्रदेशसभाको टिकट दिएको छ । तिवारीले ०७० को संविधानसभा चुनावमा नवलपरासी (तत्कालीन क्षेत्र नम्बर ४) बाट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यसपटक तिवारी र जयसवालले कँडेलकै क्षेत्र (पश्चिम नवलपरासी क्षेत्र २) बाट प्रदेशसभामा टिकट पाएका हुन् । कँडेल भने प्रतिनिधिसभातर्फ उम्मेदवार छन् । अघिल्लो संविधानसभा निर्वाचनमा कँडेलले ७ हजार ५ सय मत ल्याउँदा तिवारीले ७ हजार २ सय ५० पाएका थिए । बागीकै कारण आधिकारिक उम्मेदवार कँडेल पराजित भएको कार्यकर्ताले बताए । यसको सिधा फाइदा एमालेलाई मिलेको थियो । बैजनाथ चौधरी ८ हजार ५ सय मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेस केन्द्रीय समितिले बागीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।
तिवारी स्थानीयस्तरमा निकै लोकप्रिय मानिन्छन् । तिवारीले आफ्नो हाराहारी मत ल्याएर अघिल्लो पटक निर्वाचन हराएपछि उनलाई निलम्बन गराउन दिलोज्यानले लागेका कँडेल नै यसपटक टिकट दिलाउन कस्सिएका हुन् । उनले कार्यकर्ताको दबाब सहन नसकेर पनि उम्मेदवार बनाउन राजी भएको स्रोतले बतायो । जयसवाल पनि मतदाता माझ भिजेका नेता हुन । मधेशि समुदायको मत समेत तान्न दुबैलाई प्रदेशमा उम्मेदवार बनाएर कँडेल प्रतिनिधिसभा जित्ने दाउमा छन् । प्रदेश सभाका लागि यसअघि सिफारिसमा परेका कांग्रेसका जिल्ला उपसभापति अर्जुन पोख्रेललाई हटाएर तिवारीलाई टिकट दिइएको हो । जयसवाल भने यसअघि नै सिफारिसमा परेका थिए ।
पार्टी फेरेर उम्मेदवारी
सर्लाही– दुई दिन अधिमात्र माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गरेका राज्यमन्त्री शम्भुलाल श्रेष्ठले सर्लाही क्षेत्र नं १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । वाम गठबन्धनको सूचीमा नपरेपछि श्रेष्ठ कांग्रेस प्रवेश गरेका थिए । उनीसँग वाम गठबन्धनबाट एमालेका ध्रुव गौतम र राजपाका प्रमेद साह मैदानमा छन् ।
क्षेत्र नम्बर २ बाट कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन् । उनी पनि पूर्वराजपा महामन्त्री हुन् । उनी केही दिनअघि मात्र कांग्रेस प्रवेश गरेका थिए । वाम गठबन्धनका तर्फबाट राजपा अध्यक्ष मण्डलका सदस्य दिनेश रायले उम्मेदवारी दर्ता गराएका छन् । उनी केही दिनअघि मात्र माओवादीमा प्रवेश गरेका हुन् । क्षेत्र ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका रामेश्वर रायले उम्मेदवारी दिएका छन् । उनी फोरम लोकतान्त्रिकको वरिष्ठ अध्यक्ष त्यागेर माओवादी प्रवेश गरेका हुन् । उनीसँगै कांग्रेसका हरेश महतो र राजपा फोरम गठबन्धबाट फोरमका अशोक सिंह कोइरीले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ४ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका शिवपुजन राय मैदानमा छन् । उनी राजपा केन्द्रीय सदस्यबाट भर्खरै माओवादी केन्द्र प्रवेश गरेका हुन् । यहाँ कांग्रेसबाट अमरेशकुमार सिंह र राजपा फोरम गठबन्धनबाट राजपाका राकेश मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
राजपाका तीन अध्यक्षको जिल्ला भए पनि अध्यक्ष मण्डलका नेता महेन्द्र राय यादवबाहेक अरू नेताले गृहजिल्लाबाट उम्मेदवारी दिएनन् । रायले क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराए । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोत्तरी ३ र राजेन्द्र महतो धनुषा ३ बाट उठेको राजपा सचिव उपेन्द्र महतोले बताए ।

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

मनोनयन अबेरसम्म

वीरगन्ज (कास)– दोस्रो चरण मंसिर २१ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पर्सामा उल्लासपूर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको छ । दलहरूले आआफ्नो शक्ति प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गरेका हुन् ।
उनीहरू सयौं समर्थकका साथ उम्मेदवारी दर्ता गर्न आएका थिए । साँझ ५ बजेसम्म समय निर्धारण गरिए पनि कार्यालय परिसरमा प्रवेश गरिसकेका उम्मेदवारको राति अबेरसम्म मनोनयन दर्ता गरिएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।
चारवटा क्षेत्र रहेको पर्सामा वाम गठबन्धन, कांग्रेस र मधेस केन्द्रित दलको गठबन्धनबीच बलियो प्रतिस्पर्धा हुने देखिन्छ । गत असोज २ मा भएको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरका दुई उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समेत उम्मेदवारी दर्ता गराएका छन् ।
मेयरमा फोरम लोकतान्त्रिकबाट लडेका विमल श्रीवास्तव क्षेत्र नम्बर २ बाट संघीय फोरम र राजपा गठबन्धनबाट उम्मेदवार बनेका छन् । राजपाबाट मेयरको टिकट नपाएपछि उनी फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । यसैगरी माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका रहबर अन्सारीले प्रदेशसभाका लागि क्षेत्र नम्बर १ को ‘क’ बाट उम्मेदवारी दिएका छन् ।
मधेसमा उम्मेदवारी दर्ताको दिनलाई उम्मेदवारले शक्ति प्रदर्शनका रूपमा समेत प्रयोग गर्दै आएका छन् । विगतझैँ यसपालिको उम्मेदवारी दर्तामा पनि उम्मेदवारले क्षेत्रभरिका कार्यकर्ता र समर्थक वीरगन्ज बजारमा उतारेका थिए । दलको झन्डा, टिसर्ट, टोपी लगाएर मोटरसाइकल, ट्याक्टर, जिपमा सवार भई आएका सयौं कार्यकर्ताले वीरगन्ज महानगरको मुख्य बजार परिक्रमा गर्दै नेसनल ट्रेडिङ परिसरमा सञ्चालनमा आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका थिए । बिहान घरबाट उम्मेदवारी दर्ताका लागि निस्किँदा साइत बनाउनका लागि केही उम्मेदवारले पूजा गरे भने, केहीले माछा हेरेका थिए । गाउँबाट ओसारिएका कार्यकर्तालाई भतेरका लागि विभिन्न ठाउँ मासु–चिउराको व्यवस्था मिलाइएको थियो ।
उल्लासपूर्ण सहभागिता
सिन्धुली– मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूले बिहीबार मनोनयन दर्ता गराएका छन् । उम्मेदवारहरू उल्लासपूर्वक मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगे । वाम गठबन्धनबाट जिल्लाको क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले मनोनयन दर्ता गराए । त्यस्तै क्षेत्र नं. १ मा गठबन्धनबाट एमालेका पूर्वसांसद गणेश पहाडी भिडदै छन् । गठबन्धनका उम्मेदवार दिउँसो १ बजे निर्वाचन कार्यालय पुगेका थिए । त्यस्तै कांग्रेस उम्मेदवारले मनोनयन दर्ताका लागि दिउँसो ३ बजेको पालो मिलाएका थिए । क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा कानुन व्यवसायी एवं कांग्रेस नेता प्रेमचन्द्र दाहाल र २ बाट पूर्वजिविस सभापति एवं नेता नरेन्द्रजंग थापाले मनोनयन दर्ता गराए ।
वाम गठबन्धनबाट क्षेत्र नं. १ को प्रदेश ‘क’ मा माओवादी केन्द्रका लेखनाथ दाहाल, ‘ख’ मा एमाले जिल्ला अध्यक्ष प्रदीप कटुवाल, क्षेत्र नं. २ को ‘क’ मा एमालेका विनोद खड्का र ‘ख’ मा माओवादी केन्द्रका बुद्धिमान माझी उम्मेदवार छन् । कांग्रेसबाट क्षेत्र नं १ को ‘क’ मा गंगा गिरी, ‘ख’ मा श्याम घिमिरे, २ को ‘क’ मा माणिक ढकाल र ‘ख’ मा क्षेत्र बम्जनले उम्मेदवार मनोनयन दर्ता गराए ।
वाम गठबन्धन र कांग्रेस दुवैतर्फका उम्मेदवार पञ्चैबाजासहित मनोनयन दर्तास्थल पुगेका थिए । शक्ति प्रदर्शन गर्नकै लागि उनीहरूले दर्जनौं गाडी रिजर्भ गरी कार्यकर्तालाई सदरमुकाम झारे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार केही स्वतन्त्र र साना दलले समेत मनोनयन दर्ता गराएका छन् ।
वाम गठबन्धनमा बागी
जिल्लामा वाम गठबन्धनबाट बागी उम्मेदवारीसमेत परेको छ । माओवादी केन्द्रका गजुरेलले टिकट पाएको क्षेत्र नं. २ मा सोही पार्टीका केन्द्रीय सदस्य रामकुमार पौडेलले स्वतन्त्र उम्मेदवारी हालेका हुन् । उनी क्षेत्र नं. २ को प्रदेश ‘ख’ बाट आकांक्षी थिए । क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता रामकुमार कार्कीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । प्रदेशमा समेत पार्टीकै चर्चित नेताहरूले टिकट नपाएको झोंकमा बागी उम्मेदवारी दिएका छन् ।

Page 13
विदेश

रोहिंग्या संकट क्षेत्रमा सुकी

म्यान्मारको राखिने राज्यमा फैलिएको हिंसापछि पहिलोपटक उक्त क्षेत्र पुगेकी नेतृ आङ सान सुकी । तस्बिर : एपी

म्यान्मार (एजेन्सी)– म्यान्मार सरकारका राज्य सल्लाहकार आङ सान सुकीले हिंसा प्रभावित राखिने प्रान्तको भ्रमण गरकी छन् । उनले राखिने राज्यमा फैलिएको हिंसापछि पहिलोपटक भ्रमण गरेकी हुन् । सरकारी अधिकारीले सुकीले क्षेत्रीय राजधानी सिटे र अन्य सहरको अघोषित भ्रमण गरेको जनाए ।
उनको भ्रमण टोलीमा म्यान्मारका धनी व्यवसायी पनि सहभागी भएको जनाइएको छ । सुकीले विकास निर्माण र अन्य क्षेत्रमा लगानी गरी उक्त क्षेत्रको समस्या अन्त्य गर्न सकिने बताएकी छन् । तर उनले बंगलादेशमा विस्थापित रोहिंग्याका बारे भने केही नबताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गत सेप्टेम्बरमा सुकीले उक्त क्षेत्रमा मानवअधिकारको हनन् भएको बताएकी थिइन् । तर उनले रखाइन राज्यमा फैलिएको हिंसाको विरोध गरे पनि सेनाविरुद्ध भने केही बोलेकी थिइनन् । सुकीले ‘जातीय सफाया’ को आरोप अस्वीकार गर्दै आएकी छन् । गत अगस्ट २५ यता राखिने राज्यमा चर्किएको हिंसाका कारण ६ लाखभन्दा बढी रोहिंग्या मुसलमानहरू शरण लिन बंगलादेश पुगिसकेका छन् । गत सेप्टेम्बरमा बंगलादेशले रोहिंग्याको आवतजावतमा रोक लगाएको थियो । उसले कोक्स बजारनजिकै ४ लाख रोहिंग्याका लागि शरणार्थी शिविर निर्माण गर्ने जनाएको थियो । रोहिंग्याविरुद्धको सैन्य कारबाही रोक्न कुनै पहल नगरेको भन्दै उनको विश्वव्यापी आलोचना भएको थियो । यसअघि म्यान्मारका लागि संयुक्त राष्ट्रसंघकी विशेष प्रतिनिधिले सूचीले रोहिंग्या अल्पसंख्यकलाई सुरक्षा दिन असफल भएको भन्दै आलोचना गरेकी थिइन् । रोहिंग्या विद्रोहीले राखिने राज्यका प्रहरीचौकीमा आक्रमण गरेपछि हिंसा भड्केको हो । त्यसययता रोहिंग्याविरुद्ध सेनाले गरेको जवाफी कारबाहीमा ६ लाख बढी रोहिंग्या विस्थापित भएका हन् । सैन्य कारबाहीका क्रममा थुप्रै मानिस मारिएका थिए ।
म्यान्मारको सेनाले विद्रोही लक्षित कारबाही गरेको दाबी गर्दै आएको छ । राष्ट्रसंघ प्रवक्ता फराह हकले राखिने राज्यबाट शरणार्थीहरू बंगलादेश छिर्ने क्रम नरोकिएको बताए । बंगलादेशी अधिकारीले शरणार्थीहरूको जीवन अत्यन्तै कष्टपूर्ण बन्दै गएको जनाएका छन् । उनीहरूका अनुसार शरणार्थीले खानेकुरा तथा पानीको समस्या भएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आग्रह गरेका छन् ।
४० हजार बालबालिका बेसहारा
युरोपेली संघले म्यान्मारको राखिने राज्यबाट विस्थापित भई बंगलादेशमा शरण लिइरहेका ४० हजार बालबालिका बेसहारा बनेको जनाएको छ । संघका आयुक्त क्रिस्टस स्टाइलियानिडेसले शरणार्थी शिविर भ्रमणका क्रममा उनीहरूको निकै दयनीय अवस्था पाएको बताए । युरोपेली संघका मानवीय सहयोग र संकट व्यवस्थापन आयुक्त स्टाइलियानिडेसले रोहिंग्या संकट दशककै ठूलो समस्या भएको जनाए ।
उनले ती बालबालिकाले कुपोषणलगायतका समस्या झेलिरहेको जनाए । उनले भने, ‘बंगालादेश र म्यान्मारले वार्तामार्फत यथाशक्य चाँडो उक्त समस्याको समाधान खोज्नुपर्छ ।’

 

विदेश

बलात्कारी मामालाई कैद

चण्डीगढ (बीबीसी)– भारतको चण्डीगढस्थित जिल्ला अदालतले १० वर्षीया बालिकाको बलात्कारमा दोषी दुई जनालाई जन्मकैदको फैसला सुनाएको छ । यसअघि मंगलबार दोषी ठहरिएका उनीहरूलाई बिहीबार सजाय सुनाइएको हो । उनीहरू दुवै जना बालिकाका मामा हुन् ।
बालिकाले गत जुलाईमा पेट दुखेको बताएपछि भएको चेकजाँचका क्रममा उनी गर्भवती भएको थाहा भएको थियो । उनले अगस्टमा एक बच्चालाई जन्म दिएकी थिइन् । अधिकारीले बलात्कारको आरोपमा पक्राउ परेका व्यक्तिको डीएनए परीक्षण नकारात्मक आएपछि थप छानबिन गरी १८ दिनपछि उनका भाइलाई पक्राउ गरेका थिए । घटनाले भारतीय मात्र नभई विश्वकै सञ्चारमाध्यमको ध्यान खिचेको थियो । चण्डीगढ अदालतले गर्भपतनका लागि अनुमति दिए पनि आमाको ज्यान खतरमा पर्ने भन्दै डाक्टरले अस्वीकार गरेका थिए । भारतीय कानुनअनुसार डाक्टरको सिफारिसबिना २० साताभन्दा बढीको गर्भपतन गराउन पाइँदैन । गत सेप्टेम्बरमा १३ वर्षीया बालिकालाई गर्भपतनका लागि अनुमति दिए पनि उनले बच्चालाई जीवितै जन्म दिएकी थिइन् ।

विदेश

बेलायती रक्षामन्त्रीमा विलियम्सन

लन्डन (बीबीसी)– माइकल फालनले राजीनामा दिएपछि रिक्त बेलायतको नयाँ रक्षामन्त्रीमा प्रमुख सचेतक ग्याभिन विलियम्सन नियुक्त भएका छन् । सन् २०१० देखि लगातार संसद् निर्वाचित विलियम्सन एक वर्षदेखि कन्जरभेटिभ पार्टीको मुख्य सचेतक थिए ।
यसअघिका रक्षामन्त्री माइकल फालनले बुधबार राजीनामा दिएका थिए । उनले १५ वर्षअघि एक महिला पत्रकारलाई ‘अभद्र व्यवहार’ गरेको आरोपपछि राजीनामा दिएका थिए । उनले आकस्मिक रूपमा प्रधानमन्त्री टेरेजा मेसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामाको
कारण नखुुलाए पनि उक्त ‘व्यवहार मर्यादित’ नभएको स्वीकार गरे ।
फालनविरुद्ध सन् २००२ मा कन्जरभेटिभ पार्टी सम्मेलनका क्रममा आयोजित रात्रिभोजमा नियतवश पटकपटक पत्रकार जुलिया हार्टिली ब्रेवरको घुँडा छोएको आरोप लागेको थियो । तर हालै उक्त प्रकरणबारे फेरि समाचार आएपछि फालनमाथि दबाब बढेको थियो । यसअघि उनले मंगलबार विगतको व्यवहारप्रति क्षमा मागेका थिए । मेसमक्ष प्रस्तुत राजीनामा पत्रमा उल्लेख छ, ‘हालैका दिनमा मेरो विगतको व्यवहारका बारेमा आरोप धेरैजसो आरोप गलत भए पनि म के स्वीकार गर्छु भने, सशस्त्र सेनाको नेतृत्वका लागि आवश्यक उच्च मापदण्डभन्दा म तल गिरेको छु ।’ उनले तीन वर्षभन्दा बढी बेलायतको रक्षामन्त्रीको रूपमा काम गर्न पाउनु गौरवको विषय भएको बताए ।
प्रधानमन्त्री मेले आफूविरुद्ध लागेका आरोप गम्भीर रूपमा लिँदै उदाहरण प्रस्तुत गरेको भन्दै फालनको प्रशंसा गरेकी छन् । पत्रकार ब्रेवरले उक्त घटना पुरानो भएको र आफूलाई पीडित नठानेको बताइन् । फालनले त्यसै बेला आफूले क्षमा मागेको बताएका थिए । हालैका दिनहरूमा सत्तारूढ कन्जरभेटिभ पार्टीका कैयौं सांसदमाथि आफ्नै महिला सहकर्मीविरुद्ध यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेका छन् । प्रधानमन्त्री मेले त्यस्ता व्यवहार स्वीकार्य नहुने बताउँदै पीडितले प्रहरीसमक्ष उजुरी गर्नुपर्ने बताएकी छन् ।

विदेश

आतंककारीलाई मृत्युदण्ड : ट्रम्प

न्युयोर्क आक्रमण
१ वर्षको तयारीपछि बुधबार आक्रमण गरेको आक्रमणकारीद्वारा स्वीकार

वासिङ्टन (बीबीसी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कस्थित लोअर म्यानहयाटनमा ट्रक दौडाएर ८ जनाको हत्या गर्ने सेफुल्लो सैपोभलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् । बिहीबार ट्वीट गर्दै ट्रम्पले आक्रमणकारीलाई छिटो र कडा कारबाही गर्न आह्वान गरेका छन् ।
म्यानहयाटनका न्यायाधिवक्ता जुन किमले उनीमाथि दुई मुद्दा दायर गरिएको जनाए । उनीमाथि गाडीको प्रयोग गरी ८ को ज्यान लिएको र इस्लामिक स्टेटलाई सहयोग र सर्मथन जनाएकोमा मुद्दा दायर गरिएको हो । किमका अुनसार सरकारले चाहेमा उनलाई पहिलो मुद्दामा मृत्युदण्ड र दोस्रोमा आजीवन काराबासको सजाय हुन्छ ।
यसअघि सैपोभले १ वर्षको तयारीपछि आफूले बुधबार आक्रमण गरेको बताए । उनले अनुसन्धानकर्तालाई आफूले सक्दो बढी मानिस मार्ने नियतले आक्रमण गरेको बताए । सैपोभले मानिस धेरै हुन्छन् भनेर आक्रमणका लागि हलोइनको दिन रोजेको बताए । यसअघि संघीय अदालतमा लगाइएको अभियोगमा उनले आक्रमणको योजना २ महिनाअघि बनाएको बताइएको छ । आक्रमणपछि प्रहरीको गोली लागेका सैपोभ अदालतमा ह्वीलचियरमा उपस्थित थिए । उनीमाथि ट्रक जोताएको र विद्रोही समूह इस्लामिक स्टेटलाई सामग्री उपलब्ध गराएको आरोपमा मुद्दा लगाइएको हो । उनी डीभी चिठ्ठा प्रणालीमार्फत अमेरिका पुगेका थिए । सैपोभले मंगलबार लोअर म्यानहयाटनमा साइकल लेन र फुटपाथमा ट्रक दौडाई आक्रमण गरेलगत्तै सैपोभलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिए । उनलाई त्यसपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । उक्त आक्रमणमा परी ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको थियो । अन्य १२ घाइतेमध्ये ९ को अस्पतालमा उपचार भइरहेको छ । उनले आफूले इस्लामिक स्टेटको झन्डा ट्रकमा फहराउन चाहे पनि अरूको ध्यान आफूतिर केन्द्रित हुने भएकाले त्यसो नगरेको बताए । संघीय जाँच ब्युरो (एफबीआई) ले घटना सम्बन्धित प्रश्न गर्न खोजिरहेका उज्वेकिस्तानकै अर्का व्यक्तिको पनि ठेगाना पत्ता लगाएको बताएका छन् ।
को हुन् सैपोभ ?
सन् २०१० मा उज्वेकिस्तानबाट अमेरिका पुगेका सैपोभ एक ट्रकचालक थिए । लामो समय फ्लोरिडामा बसेका उनी केही समयअघि न्युजर्सी सरेका थिए ।
सीबीएस टेलिभिजनका अनुसार २०१५ मा एफबीआईले गरेको प्रतिआतंकवाद अनुसन्धानमा उनको नामसमेत समावेश थियो ।

विदेश

चीन–रूस सम्बन्ध सुधारमा जोड

छोटकरी

बेइजिङ (सिन्हवा)– चिनियाँ राष्ट्रपति सी चिनफिङले रूस र चीनबीच विभिन्न क्षेत्रमा सहयोग र सम्बन्ध सुधार गर्नु आवश्यक भएको जनाएका छन् । रूसी राष्ट्रपति दिमित्री मेदभेदेवसँग बेइजिङमा बिहीबार भएको भेटमा सीले दुई देशबीचको सुमधुर सम्बन्धले नयाँ प्रगति हुने बताए । सीले मेदभेदेवलाई ‘सिल्क रोड’ को सफलताका लागि रूसी सहयोग अति आवश्यक भएको धारणा राखे । उनले दुई देशको सम्बन्धले शिक्षा, पर्यटन, सञ्चार, प्रविधिलगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे । भेटमा मेदभेदेवले १९ औं महाअधिवेशनबाट पुन राष्ट्रपतिमा निर्वाचित भएकोमा सीलाई बधाई दिएका थिए । गत जुलाईमा भएको सीको रूस भ्रमणपछि अर्थतन्त्र, उर्जा, लगानीलगायतका विषयमा दुई देशले जोड दिएका छन् ।

विदेश

आक्रमणमा १५ को मृत्यु

छोटकरी

अफगानिस्तान (सिन्हवा)– अफगानिस्तानको चारिकारमा भएको बम आक्रमणमा कम्तीमा पनि १५ जनाको मृत्यु भएको छ । इन्धन बोकेर गुडिरहेको टयांकरमा अज्ञात समूहले बम आक्रमण गर्दा उनीहरूको मृत्यु भएको अधिकारीले जनाएका छन् । प्रत्यक्षदर्शीका अनुसार बम आक्रमणलगत्तै भएको आगलागी पछि टयांकर विस्फोटमा उनीहरू मारिएका हुन् । टयांकरमा आगलागी भएपछि नजिकैको बस्ती तथा सडकमा गुडिरहेका केही बसमा समेत आगो लागेको थियो । मारिनेमा बसका यात्रु
तथा घटनास्थल वरिपरिका मानिस छन् ।

Page 14
Page 15
अर्थ वाणिज्य

तामाकोसी ३ को अनुमति रद्द गर्न माग

- कृष्ण आचार्य

काठमाडौं– तामाकोसी तेस्रो जलविद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स ऊर्जा मन्त्रालयले कानुन विपरीत तामाकोसी ३ को अनुमति रद्द गर्न माग गरेको छ । टीबीआई होल्डिङ कम्पनीलाई दिएकामा आपत्ति जनाउँदै लगानी बोर्डले ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा ऊर्जामन्त्री कमल थापा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका पूर्वाधार हेर्ने सचिवलाई पत्राचार गरी टीबीआईलाई दिएको अनुमति रद्द गर्न माग गरिएको हो ।
५ सय मेगाबाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाको क्षेत्राधिकार आफ्नो रहेको जिकिर गर्दै उक्त आयोजनालाई आवश्यक लगानीको स्रोत जुटाउन अन्तर्राष्ट्रियस्तरमा मार्केटिङ गरिरहेको दाबी बोर्डले गरेको छ । केही विदेशी कम्पनीहरूले लगानीका लागि आशयपत्रसमेत पेस गरिसकेको सन्दर्भमा विश्वसनीयतामाथि प्रश्न उठ्ने र लगानीको वातावरणमा समेत असर गर्ने भन्दै अनुमति रद्द गर्न बोर्डले माग गरेको हो । अनुमति रद्द गरेर आयोजना विकास मोडालिटीको विषयमा मन्त्रालयलाई राय उपलब्ध गराउनसमेत पत्राचार गरिएको छ ।
ऊर्जा मन्त्रालयले ६ सय ५० मेगावाट क्षमताको उक्त आयोजनाको सर्वेक्षण लाइसेन्स कानुन विपरीत टीबीआई होल्डिङ कम्पनीलाई दिएको हो । ऊर्जा मन्त्रालयको कार्यभारबाट हटाएर बिनाविभागीय मन्त्री बनाइएका महेन्द्रबहादुर शाहीको दबाबमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले उक्त कम्पनीलाई सर्वेक्षण लाइसेन्स दिएका हुन् । यसबारे समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्ड सचिवालयले सरोकारवाला सबै व्यक्ति तथा निकायलाई पत्राचार गरेको हो । स्रोतका अनुसार उपप्रधान तथा ऊर्जामन्त्री थापालाई बोर्डका अधिकारीहरूले भेटेर अनुमति रद्द गर्नुपर्ने ‘ब्रिफिङ’ पनि गरेका छन् ।
दुई वर्षअघि प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले उक्त आयोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा विकास निर्णय गरेको थियो । बोर्ड बैठकले ०७३ पुस २५ गते आयोजना विकास मोडालिटीसमेत पास गरिसकेको छ । यस विषयमा सचिव उपाध्यायकै कार्यकक्षमा पटकपटक छलफल भएको तर त्यसलाई बेवास्ता गर्दै पछिल्लो समय भएको सम्झौताबारेमा बोर्डले पत्रमार्फत आपत्ति जनाएको छ । ‘बोर्डको पच्चीसौं बैठकले यस आयोजनालाई लगानी बोर्ड नियमावली २०६९ को नियम ८ बमोजिम प्रतिस्पर्धामार्फत लगानी कार्यान्वयन गर्न आयोजना बैंकमा सूचीकरण गरिसकेको छ,’ बोर्डले गरेको पत्राचारमा भनिएको छ, ‘उद्योग मन्त्रालय तथा लगानी बोर्डले संयुक्त रूपमा २०७३ फागुनमा आयोजना गरेको लगानी सम्मेलनपश्चात तामाकोसी तेस्रोमा लगानीकर्ताहरूबाट आशयपत्र प्राप्त भएका छन् ।’
सम्मेलनपश्चात उपलब्ध गराइएको विवरणअनुसार ६ वटा चिनियाँ कम्पनी, दुईवटा जापानी र बेलायतको एक कम्पनीले तमाकोसी ३ आयोजनामा लगानीको आशयपत्र पेस गरेका छन् । आशयपत्र पेस गर्ने र अन्य अन्तर्राष्ट्रिय कम्पनीहरूसमेतले सहभागी हुन पाउने गरी बोर्डले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको जनाएको छ । ‘लगानीकर्ताहरूले आयोजनाको सम्बन्धमा आशयपत्र दिएको, लगानीकर्ताहरूलाई प्रस्ट रूपमा प्रतिस्पर्धाबाट मात्रै आयोजनाको अनुमति प्रदान गरिने जानकारी गराएकामा विद्युत् विकास विभागले सर्वेक्षण अनुमतिपत्र प्रदान गरेको जानकारी प्राप्त भएको छ,’ बोर्डको पत्रमा भनिएको छ, ‘सञ्चार माध्यमहरूबाट बिनाप्रतिस्पर्धा अनुमति प्रदान गरिएको समाचार सम्प्रेषण भएबाट लगानीकर्ताहरू अलमलमा पर्ने र अन्ततोगत्वा निरुत्साहितसमेत हुन सक्ने देखिन्छ ।’
उक्त पत्रको बोधार्थ विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह र टीबीआई कम्पनीलाई पनि दिइएको छ । प्रधानमन्त्री देउवाले असोज ३१ मा ऊर्जामन्त्री शाहीसहित माओवादी केन्द्रका १७ मन्त्रीलाई बिनाविभागीय बनाएका थिए । सचिव उपाध्यायले विद्युत् ऐन २०४९ को व्यवस्था प्रयोग गरी बिनाप्रतिस्पर्धा उक्त आयोजना टीबीआई कम्पनीलाई दिएका हुन् ।
उक्त ऐनभन्दा पछि बनेको लगानी बोर्ड ऐनले ५ सय मेगावाट वा त्यसभन्दा बढी क्षमताका आयोजनाको लाइसेन्स दिनेबारे विद्युत् ऐनको व्यवस्थालाई काटिसकेको छ । लगानी बोर्ड ऐनको दफा ९ मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै परियोजना कार्यान्वयन गर्न आवश्यक हुने लगानी यस ऐनबमोजिम कार्यान्वयन गरिने’ उल्लेख छ ।
सोही दफाको ‘झ’ मा ‘पाँच सय मेगावाट वा सोभन्दा बढी क्षमताको जलविद्युत् उत्पादन परियोजनामा हुने लगानीसम्बन्धी निर्णय लगानी बोर्डले गर्ने’ उल्लेख छ ।
यस व्यवस्थाको उल्लंघन गर्दै सचिव उपाध्यायले उक्त सम्झौतापूर्व लाइसेन्स नीति महाशाखाको रायसमेत नलिई अनुमति दिएका हुन् । लगानी जुटाउने आधारसमेत टीबीआईले पेस गरेको छैन । उक्त आयोजनाको लागत करिब १ खर्ब ३० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । लाइसेन्स अनुमति पाउने टीबीआई होल्डिङ कम्पनी गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टको हो । भट्ट एनआरएनएको सम्मेलनमा आएकै बेला उनको कम्पनीले लाइसेन्सका लागि आवेदन दिएको थियो । आवेदन दिएको एक साता नबित्दै सर्वेक्षण लाइसेन्स दिइएको हो ।
यो आयोजनाबारे चर्चा सुरु भएको दशक बितिसक्यो । सन् २००७ मा नर्बेली कम्पनी स्टयाटक्राफ्टले तामाकोसी ३ को सर्वेक्षण लाइसेन्स लिई अध्ययन गरेको थियो । उक्त आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययनसमेत गरिसकेको छ । उक्त कम्पनीले विद्युत् भारतमा निर्यात गर्ने उद्देश्यले भारतीय साझेदारसमेत खोजेको थियो ।
भारतीय कम्पनीले चासो नदिएपछि लगानी जुटाउन नसकेको नर्बेली कम्पनीले ०७२ पुसमा आयोजनाबाट हात झिक्यो । कम्पनीले भूकम्प, नेपालको पछिल्लो अवस्था र आफ्नै नीतिगत अवस्थाका कारण बाहिरिएको औपचारिक जानकारी बोर्डलाई दिएको थियो । त्यसपछि बोर्डले अर्को तयारी गरिरहँदा ऊर्जा मन्त्रालयले सुटुक्क अर्को सम्झौता गरेको, त्यसले क्षेत्राधिकार विवाद उत्पन्न गराएकाले आयोजना विकासमा थप ढिलाइ हुने देखिन्छ ।

अर्थ वाणिज्य

कोलकाता बन्दरगाहबाट सामान छुटाउन कठिन

असोजदेखि आएका अधिकांश कन्टेनर अझै बन्दरगाहमै थन्किएका छन्
बन्दरगाहमा अड्किए २ हजारभन्दा बढी कन्टेनर
तेस्रो मुलुकसँगको व्यापारमा जटिलता थपिँदै
- भूषण यादव
भारतको कोलकाता बन्दरगाहमा थन्किएका नेपाली कन्टेनर । तस्बिर : कान्तिपुर

वीरगन्ज– नेपालमा तेस्रो मुलुकबाट आयात गरिएका व्यापारिक सामान कोलकाता बन्दरगाहबाट ल्याउन मुस्किल पर्न थालेको छ ।
बन्दरगाह अस्तव्यस्त हुँदा सामान निकाल्न कठिन भएको आयातकर्ताको गुनासो छ । बाहिरबाट आएका कन्टेनरले सामान पुर्‍याएर समयमा बन्दरगाह फर्कन नसक्दा सिपिङ कम्पनीलाई बढी विलम्ब शुल्क तिर्नुपर्ने भएको छ ।
भारतको कोलकाता बन्दरगाहको व्यवस्थापनको कमजोरीका कारण आयातकर्ताले प्रतिकन्टेनर झन्डै डेढ लाख रुपैयाँ थप खर्चिनुपरेको आयातकर्ताको दाबी छ । आयातकर्ताले समयमा सामान नेपाल भित्र्याउन पनि सकिरहेका छैनन् । गत असोजदेखि आएका अधिकांश कन्टेनर अझै कोलकाता बन्दरगाहमै थन्किएका छन् । कन्टेनर बन्दरगाहमा आएदेखि सिपिङ कम्पनीले बिलम्ब शुल्क जोड्न थाल्छन् । कन्टेनर गन्तव्यमा पुगेर बन्दरगाहसम्म फर्किनका लागि औसतमा १५ देखि २१ दिनसम्म ‘फ्री’ समय हुन्छ । आयातकर्ताका अनुसार सिपिङ कम्पनीले उपलब्ध गराएको फ्री समय कोलकाता बन्दरगाहबाट कन्टेनर जाँचपास गराउनैमा लाग्न थालेको छ । उक्त बन्दरगाहमा पछिल्लो समय कन्टेनर संख्यामा वृद्धि भए पनि व्यवस्थापन पक्ष फितलो भएकाले आयातकर्ता मारमा परेका हुन् । वीरगन्ज उद्योग वाणिज्य संघका अनुसार बर्सेनि ६ देखि ८ अर्ब रुपैयाँ विभिन्न शीर्षकमा अतिरिक्त रकम तिर्नुपरिरहेको छ ।
आयातकर्ताका अनुसार तेस्रो मुलुकबाट आयात गरिएका करिब २ हजार ५ सय कन्टेनर अझै अलपत्र परेका छन् । यसअघि ‘फस्र्ट कम फस्र्ट सर्भ’ अनुरूप सेवा दिइरहेको बन्दरगाह व्यवस्थापनले हाल नीति परिवर्तन गरेको छ । ‘दुई महिना पहिले आएको कन्टेनर अन्य कन्टेनरले थिचिएर तल परेका छन्,’ नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका निवर्तमान अध्यक्ष राजन शर्माले भने, ‘समस्या जटिल बन्दै गएको छ ।’
नेपालका व्यापारीले सबै काम एजेन्टले गर्ने भनेर ढुक्कका साथ बस्ने गरेका उनले बताए । ‘बन्दरगाहमा जति विलम्ब शुल्क तिरे पनि व्यापारीले नेपाली उपभोक्ताबाट उठाउने हुन्,’ उनले भने, ‘यो समस्या समाधानका लागि व्यापार संघ र सरकारीस्तरबाट पहल भएको छैन ।’ नेपाली व्यापारीले सामानको मूल्य जति वृद्धि गरे पनि उपभोक्ताले सजिलै खरिद गर्ने भएकाले आयातकर्ताले विलम्ब शुल्क तिरेको उनको बुझाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघको यातायात तथा पारवाहन समितिका सभापति अशोक टेमानीका अनुसार तेस्रो मुलुकबाट आएको सामानको बिक्री चिन्ताभन्दा पनि बन्दरगाहबाट सामान कसरी छिट्टो निकाल्नेमै बढी ध्यान जाने गरेको छ । उनले भने, ‘पारवहनमा उत्पन्न समस्या समाधानका लागि सरकारी पहलको आवश्यकता छ ।’ साँघुरो र परम्परागत कोलकता बन्दरगाहमा नेपाली आयातकर्ताले निरन्तर कठिनाइ भोगिरहे पनि सरकारले समस्या निराकरणका लागि पहल नगरेको टेमानीले गुनासो गरे ।
तेस्रो मुलुकबाट समुद्री मार्ग भई कोलकतामा आएको समान रेल मार्ग वा स्थल मार्ग भएर नेपाल भित्र्याइन्छ । पछिल्लो समय सडकमार्ग अवरुद्ध र सिमानामा देखिएको ट्राफिक जामको समस्याले अधिकांश कन्टेनर रेल्वे मार्ग भएर वीरगन्जको सिर्सियास्थित सुख्खा बन्दरगाहसम्म आउने गरेका छन् ।
‘सीआईएफ’ परिवर्तन आवश्यक
करिब १५ वर्षदेखि वीरगन्जमा सुख्खा बन्दरगाह सञ्चालनमा आए पनि तेस्रो मुलुकबाट नेपालका लागि आएका कन्टेनर अझै पनि ‘सीआईएफ’ (सामानको मूल्य, भाडा र बिमा) कोलकता लेखेर आउने गरेका छन् । ‘नेपालको आफ्नै बन्दरगाह भइसकेपछि सरकारले पहल गरेर सीआईएफ वीरगन्ज लेखाउन सक्नुपर्छ,’ टेमानी भने, ‘यसले विलम्ब शुल्कको करोडौं रकम सिपिङ कम्पनीलाई तिर्नुपर्दैनथ्यो, समयको पनि बचत हुन्थ्यो ।’ सीआईएफ वीरगन्ज भएर सामान आयात भएपछि वीरगन्ज सुख्खा बन्दरगाहमा कन्टेनर आएपछि फ्री समय लागू हुन्छ । हाल तेस्रो मुलुकबाट आयात भएको सामानको जाँचपासका लागि कोलकाता, रक्सौल र वीरगन्जमा गरी तीनवटा क्लियरिङ एजेन्ट राख्नुपर्ने बाध्यता छ । यसले अतिरिक्त रकम र समयको भार थपिएको उनले बताए ।

अर्थ वाणिज्य

तल्लो मोदीको विद्युत् उत्पादन पुसदेखि

आयोजनाको ९२ प्रतिशत काम सम्पन्न
निर्धारित समयमा निर्माण पूरा गर्न काममा तीव्रता
- अगन्धर तिवारी

पातीचौर (पर्वत)– २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुसदेखि हुने भएको छ । आयोजना प्रमुख पवनकुमार यादवका अनुसार ९२ प्रतिशत निर्माण सम्पन्न भएको र कामले तीव्रता पाएकाले उत्पादन छिट्टै हुने भएको हो ।
आयोजनाको ०६९ साउनमा निर्माण थालिएर ६० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिए पनि निर्धारित समयमा प्रगति भएको थिएन । ‘बर्खामा टनेलभित्र पहिरो जाने, भासिने, भित्रै बाढी पस्नेजस्ता प्राकृतिक समस्याले निर्धारित समयभन्दा केही ढिला भयो,’ उनले भने, ‘अब पुसभित्रमा उत्पादन थाल्ने अवस्थामा पुग्ने तयारीका साथ काम भइरहेको छ ।’ निर्माणको कामलाई यतिबेला तीव्रता दिइएको उनले बताए । युद्धस्तरमा काम नगरे लागतसमेत बढ्ने उनले सुनाए । भौतिक संरचनाअन्तर्गत सुरुङको काम सकिएको छ । पावरहाउससम्म पाइप बिच्छयाउन, पावरहाउसका केही फिनिसिङ, टर्बाइन र जेनेरेटर जडानका काम केही बाँकी रहेको आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्बासेले बताए ।
‘कन्स्ट्रक्सनकै काम सक्न अझै दुई महिना लाग्ने देखिन्छ,’ उनले भने, ‘तैपनि कामले यतिबेला गति लिएको छ ।’ केही दिनयता आयोजनाले दैनिक दुई सिफ्टमा काम गरिरहेको जनाएको छ ।
आयोजनाको ३ अर्ब ६० करोड रुपैयाँको लागत स्टिमेटमा काम थालेको आयोजनाले निर्धारित म्यादमा काम नसकेपछि लागत बढ्दै गएको हो । विद्युत् प्राधिकरणसँग ०६८ भदौमा विद्युत् खरिद सम्झौता भएको थियो । आयोजनाको वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको इन्जिनियरिङलगायत कन्स्ट्रक्सनको काम मनाङ ट्रेड लिंक र साउथ एसियन इन्फास्ट्रक्चरले गरेका छन् ।
मनाङले डयामलगायत (आउटलेन्ड) र साउथले टनेल, इन्जिनियरिङसहित पूर्वाधारको काम गरिरहेको छ । आयोजनामा नेपाल इन्भेस्टमेन्टसहित ११ वाणिज्य बैंक, उद्योगी पशुपति मुरारका, जलस्रोतविज्ञ ज्ञानेन्द्रलाल प्रधानलगायतको लगानी छ ।
कुस्मा नगरपालिका र मोदी गाउँपालिका आयोजनाका प्रभावित क्षेत्र हुन् । मोदीको तिलाहारबाट ४२ सय मिटर लामो सुरुङ हँुदै कुस्मा नगरपालिकाको चुवास्थित परादीमा आयोजनाको पावरहाउस रहनेछ ।

Page 16
अर्थ वाणिज्य

१७ केजी सुनसहित पक्राउ

- आश गुरुङ

लमजुङ– गोरखा–मनाङको सीमा क्षेत्र लार्केबाट मनाङको थोंचे हुँदै लमजुङ सदरमुकाम बेंसीसहर ल्याइँदै गरेको १७ किलो ‘अवैध’ सुन प्रहरीले बरामद गरेको छ । बा५८प ४२९१ नं. को २२० सीसीको पल्सर मोटरसाइकलमा सवार मनाङको नासोङ गाउँपालिका ९, दानाक्युका ३१ वर्षीय पासाङ लामाले उक्त सुन बोकेका थिए । प्रहरीले बिहीबार लामाको साथबाट ३० हजार ५ सय २० रुपैयाँ नगदसमेत बरामद गरेको जानकारी दियो । डीएसपी पदमबहादुर विष्टले समातिएको सुनसहितका सामग्रीलाई आफ्नै कार्यकक्षमा सार्वजनिक गर्दै अनुसन्धान थालिएको बताए । ‘हामीले प्रारम्भिक बयान समेत राम्रोसँग लिन पाएका छैनौं,’ उनले भने, ‘अनुसन्धान पछि खुल्नेमा ढुक्क छौं ।’ प्रहरीका अनुसार विभिन्न ५ वटा छुट्टाछुट्टै कम्पनीको ‘ट्याग’ लागेको १/१ किलोको उक्त सुन कसको हो र कहाँ लान लागिएको हो भन्ने खुलेको छैन । लामाको साथबाट नागरिकता, पासपोर्ट, फोटोसहितको मतदाता परिचयपत्रसमेत बरामद भएको छ ।
प्रारम्भिक बयानका आधारमा लामाले २० हजार रुपैयाँ भाडा लिएर बेंसीसहरको एक होटलसम्म पुर्‍याउने जिम्मा लिएका थिए । ‘उनी भाडाका हुन् या तस्करी नै हुन् भन्ने अहिले नै खुलेको छैन,’ उनले भने । सामान्य हेर्दा भरियाजस्तो देखिएको डीएसपी विष्टले बताए । सुन सार्वजनिक कार्यक्रममा आएका लमजुङ सुनचाँदी व्यवसायी संघका पदाधिकारीले प्रहरीले समातेको सुन नै भएको पुष्टि गरेका छन् । बिहीबारको दर अनुसार प्रतितोला ५६ हजारको हाराहारीमा रहेकाले उक्त सुन करिब ८ करोड १६ लाख रुपैयाँ बराबरको रहेको संघका निवर्तमान अध्यक्ष रविन विश्वकर्माले बताए ।
सुन तस्करीको नयाँ रुट
यसअघि रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै तस्करी भइरहेको सुन तिब्बतबाट गोरखा–मनाङ–लमजुङ बाटो हुँदै तस्करी हुन थालेको छ । यसअघि यो रुटमा तस्करीको कुनै छनक नपाइए पनि बिहीबारको घटनाले नयाँ तथ्य फेला परेको छ । गोरखाको सामागाउँस्थित रुइला उक्त क्षेत्रको तिब्बतसँगको एकमात्र नाका हो । चुमनुब्री गाउँपालिका १ मा पर्ने उक्त ठाउँबाट मनाङ र गोरखाको सीमा लार्के १ दिनमा आइपुगिन्छ ।

अर्थ वाणिज्य

स्याङयोङ टिभोली बजारमा

छोटकरी

काठमाडौं (कास)– आईएमएस मोटर्सले स्याङ्योङ टिभोली गाडी नेपाली बजारमा भित्र्याएको छ । यो गाडी नेपाली बजारमा दुई वटा विकल्पका साथ प्रस्तुत गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । अटोमेटिक गियर बक्स सुविधायुक्त स्याङ्योङ टिभोली र म्यानुअल सेमिलोडेड बजारमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी दुई गाडीको बजार मूल्य क्रमश: ६५ लाख ९९ हजार र ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

अर्थ वाणिज्य

नबिल भाइबर बैंकिङ सेवा सुरु

छोटकरी

काठमाडौं (कास)– नबिल बैंकले नबिल भाइबर बैंकिङ सेवा सुरु गरेको छ । यो सेवा भाइबर प्लेटफर्ममार्फत उपलब्ध गराइएको बैंकले जनाएको छ । बैंकका ग्राहकहरूले आफ्नो खाताको मौज्दात जाँच गर्न, खाताको छोटो कारोबारलगायत अन्य विवरणको साथै विनिमय दर/ब्याजदरलगायत विभिन्न जानकारी यो सेवाबाट लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । यस सेवाका लागि बैंकका ग्राहकहरू स्वयंले भाइबरमा उपलब्ध नबिल बैंकको सार्वजनिक खाता ‘नबिल बैंक’ मा दर्ता हुनुपर्ने जनाएको छ ।

अर्थ वाणिज्य

जलवायु परिवर्तनबारे सम्मेलन

छोटकरी

काठमाडौं (कास)– नेपाल उद्योग वाणिज्य महासंघ र सार्क च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले राजधानीमा संयुक्त रूपमा दक्षिण एसियाली युवाहरू सम्मिलिन जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको आयोजना गरेको छ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले सम्मेलनलाई सम्बोधन गर्दै मुलकको आर्थिक समृद्धि एवं प्रभावकारी परिवर्तनमा युवाको भूमिका महत्त्वपूर्ण रहेको बताए । महासंघका अध्यक्ष भवानी राणाले जलवायु परिवर्तनको चरम अवस्था भोग्नुपरेको दृष्टान्त दिँदै हालै नेपाल, भारत, बंगलादेशलगायतका देशहरू बाढी पहिरोको मार खेपिरहेको बताइन् । सार्क चेम्बर अफ कमर्सका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले युवाहरू परिवर्तनका संवाहक भएकाले, युवाहरू एकजुट भएर जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न सफल हुने विश्वास व्यक्त गरे ।

अर्थ वाणिज्य

चन्द्रागिरि केबलकार र टर्किस एयरबीच सम्झौता

छोटकरी

काठमाडौं (कास)– चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सबीच टिकट खरिदमा छुट लिनेदिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक अभिषेकविक्रम शाह र टर्किस एयरलाइन्सका तर्फबाट महाप्रबन्धक अब्दुल्हा तुन्सेर केसेचिले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा छ । सम्झौताअनुसार चन्द्रागिरि हिल्स र टर्किस एयरलाइन्समा कार्यरत कर्मचारी र यात्रुले दुवैतर्फको टिकट खरिदमा छुट पाउने व्यवस्था छ ।

अर्थ वाणिज्य

सिप्रदीको चालक प्रशिक्षण कार्यक्रम

छोटकरी

काठमाडौं (कास)– सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ प्रालिले राष्ट्रव्यापी चालक प्रशिक्षण कार्यक्रम ‘सुरक्षित तथा इन्धन मितव्ययी चालक तालिम’ सञ्चालन गरेको छ । कात्तिक २२ सम्म चल्ने उक्त कार्यक्रम काठमाडौं, इटहरी, वीरगन्ज, नेपालगन्ज, पोखरा र बुटवलमा सञ्चालन भइरहेको जारी विज्ञप्तिमा छ । कार्यक्रममा १२ सय चालकहरूलाई तालिम दिने योजना रहेको सिप्रदीले जनाएको छ ।

 

Page 17
अर्थ वाणिज्य

राष्ट्र बैंकको निर्देशन उल्लंघन

तोकिएको समयमा ६ बैंकले मात्रै विवरण सार्वजनिक गरे
- यज्ञ बञ्जाडे

काठमाडौं– त्रैमास समाप्त भएको १५ दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन भए पनि बहुसंख्यक बैंक तथा वित्तीय संस्थाले पालना गरेका छैनन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले बुधबार (कात्तिक १५) सम्म पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने थियो ।
तोकिएको समयभित्र ६ वटा वाणिज्य बैंकले मात्र पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बाँकी बैंकहरूले न प्रतिवेदन सार्वजनिक गरेका छन् नत ढिलाइ हुनुको कारणबारे राष्ट्र बैंकमा पत्राचार नै गरेका छन् । बहुसंख्यक बैंक तथा वित्तीय संस्थाहरूबाट आफ्नो निर्देशन अवज्ञा हुँदा पनि राष्ट्र बैंक मौन छ । बुधबारसम्म नबिल, एभरेस्ट, सानिमा, सिटिजन्स, एनआईसी एसिया र जनता बैंकले मात्र वित्तीय विवरण प्रकाशित गरेका छन् । बिहीबारसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंक संख्या १० पुगेको छ ।
गत आर्थिक वर्षसम्म बैंक तथा वित्तीय संस्थाले त्रैमास समाप्त भएको ३५ दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो ।
राष्ट्र बैंकले यो वर्ष उक्त निर्देशन परिमार्जन गरी त्रैमास समाप्त भएको १५ दिनभित्र राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको हो । साउन १ देखि लागू हुने गरी एकीकृत निर्देशिकामार्फत उक्त व्यवस्था ल्याइएको हो । अधिकांश बैंकहरूबाट उक्त निर्देशन पालना भएको छैन ।
‘बैंक तथा वित्तीय संस्थाहरूले सम्पूर्ण शाखाहरूको समेत कारोबार समावेश गरी वास्तविक एकीकृत वित्तीय विवरणलगायत प्रमुख वित्तीय परिसूचकहरूको विवरण हरेक त्रैमास पूरा भएको १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
बुधबारसम्म बहुसंख्यक बैंकहरूको वित्तीय विवरण सार्वजनिक नभएपछि सदस्य बैंकहरूलाई नियामक निकायको कारबाहीबाट जोगाउन बैंकर्स संघले चलाखीपूर्ण ढंगले राष्ट्र बैंकलाई पत्राचार गरेको छ । यो नयाँ निर्देशनपछिको पहिलो त्रैमास भएकाले धेरै बैंकहरूले तोकिएको समयमा वित्तीय विवरण सार्वजनिक गर्न नसकेको जनाउँदै र आगामी त्रैमासमा समयमै सार्वजनिक गर्ने प्रतिबद्धता पनि पत्रमा उल्लेख छ । राष्ट्र बैंकले हरेक आर्थिक वर्षको अन्त्यमा सार्वजनिक गर्ने एकीकृत निर्देशनमा अन्यजस्तो यो निर्देशन ‘बोल्ड’ नभएकाले धेरै बैंकहरूलाई थाहा नभएको आरोप पनि बैंकरहरूले लगाएका छन् ।
संघले बिहीबार राष्ट्र बैंकलाई पत्र पठाएको स्रोतले बताएको छ । जबकि १५ गते वित्तीय विवरण सार्वजनिक गर्ने अन्तिम दिन हो । ‘राष्ट्र बैंकको निर्देशनप्रति संवेदनशील भएको भए बैंकहरूले १५ गतेअघि नै ढिलाइ हुनुको जायज कारणसहित राष्ट्र बैंकमा पत्राचार गर्नुपथ्र्यो,’ एक पूर्वबैंकरले भने, ‘ढिलाइ भए पनि राष्ट्र बैंकले कारबाही गर्न सक्दैन भन्ने सोचाइमा निर्देशन उल्लंघन भएको हो ।’ अहिले निर्देशन पालना नगर्ने बैंक तथा वित्तीय संस्थालाई कुनै कारबाही नभए आउँदा दिनमा बैंकहरू झनै अटेर हुने र यसको प्रत्यक्ष असर सुशासनमा देखिने उनको भनाइ छ ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बिहीबारसम्म बैंकर्स संघको पत्र राष्ट्र बैंकमा नआएको बताए । उनले भने, ‘खै पत्रबारे मलाई थाहा भएन ।’ त्रैमास समाप्त भएको १५ दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने स्पष्ट निर्देशन रहेकाले त्यो पालना नगर्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कानुनबमोजिम कारबाही गर्ने उनले बताए । ‘निर्देशन पालना नगर्ने बैंकहरूले कारबाही भोग्नैपर्छ, कारबाही जस्तो पनि हुन सक्छ,’ प्रवक्ता पौडेलले भने ।
नियामक निकायको निर्देशन पालनाका हिसाबले अब्बल रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि बिहीबारसम्म वित्तीय विवरण सार्वजनिक गरेको छैन । प्राविधिक कारणले योपटक समयमा वित्तीय विवरण सार्वजनिक गर्न नसकिएको र यो जानकारी राष्ट्र बैंकमा पठाइसकिएको बैंकका अधिकारी दिवाकर पौडेलले बताए । ‘विशेष कारणले यो त्रैमासमा ढिलो भएको हो,’ उनले भने, ‘अर्को पटकबाट समयमै सार्वजनिक गर्छौं, त्यसका लागि आन्तरिक तयारी पूरा भइसकेको छ ।’

अर्थ वाणिज्य

जाडो छल्दै, आलु बेच्दै

ढोरपाटनको आलु बुर्तीबाङ र बुटवलका व्यापारीलाई बेच्दै
हरेक किसानले १ लाखदेखि ३ लाख रुपैयाँ आलुबाट कमाउँदै
- प्रकाश बराल

निसीखोला (बागलुङ)– निसीखोला ५ का टेकमान बुढा ढोरपाटनबाट ६ सय क्विन्टल आलु लिएर गाउँ झरेका छन् । ढोरपाटनमा चिसो बढेपछि वर्षभरिको खेतीपाती, गाईभैंसी र परिवारसमेत लिएर बुढा निसीखोला झरेका हुन् । गर्मी छउन्जेल निसेलढोरमा आलु खेती गर्ने, पशु पाल्ने र जडीबुटी संकलन गर्ने किसान जाडो बढेसँगै फागुन दोस्रो सातासम्मका लागि बेंसी झर्छन् ।
निसीकै लालप्रसाद सापकोटा पनि घर फर्केका छन् । ‘कच्ची भए पनि मेरो घर निसी र ढोरपाटनमा छ, वर्षको ७ महिना माथि नै बस्छौं,’ सापकोटाले भने, ‘जाडो छल्न तल झर्दा आलु र जडीबुटीको बिक्री गरेर समय बिताउँछौं ।’ ढोरपाटनको आलु बुर्तीबाङ र बुटवलका व्यापारीलाई बिक्री गरेर उनीहरूले वर्षभरिको खर्चको जोहो गर्छन् ।
ढोरपाटनको मौषममा राम्रो आलु फल्ने भएकाले उनीहरूले मनग्ये आम्दानी लिन सकेका छन् । ‘यो वर्ष डेढ सय क्विन्टल आलु फलेको थियो, घोडा, खच्चर र मानिसले बोकेर बेंसीमा झारेको छु,’ सापकोटाले भने, ‘अब बुर्तीबाङ र बुटवलका साहुलाई बिक्री गर्नुपर्ला ।’ ढोरपाटनको आलु प्रतिकेजी ३० देखि ४० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । जाडो मौसम भएकाले वर्षको एकपटक मात्र आलु लगाउन सकिने सापकोटाले बताए । वर्षमा यहाँका हरेक किसानले १ लाख देखि ३ लाख रुपैयाँ आलु बिक्री गरेर कमाउँछन् । ढोरपाटनमा अस्थायी बसोबास गर्ने निसी, बोबाङ, अधिकारीचौर र खुंखानीका किसानले आलुकै बिक्रीबाट जीवन चलाइरहेका छन् । जडीबुटी संकलनबाट पनि उनीहरूले आम्दानी लिने गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालयले ढोरपाटन क्षेत्रलाई आलु पकेटका रूपमा विकास गरेको छ । यहाँ बिकासे वा अन्य हाइब्रिड आलु लैजाने चलन छैन । अर्गानिक उत्पादनका लागि स्थानीय सेतो, मौलानी र जनकदेव जातको आलु लगाइँदै आएकाले त्यसैलाई विस्तार गर्न लगाइएको कृषि प्रसार अधिकृत विप्लव अधिकारीले बताए । जिल्लामा १ हजार ५ सय हेक्टरमा व्यावसायिक आलु खेती गरिन्छ । बर्सेनि झन्डै २० हजार टन आलु फल्ने गरेको छ । ढोरपाटनको आलु कोसेलीका रूपमा लैजानका लागि सिकार आरक्षमा आएका युरोपेली पर्यटकले पनि खोजी गर्छन् । ‘प्याकिङ राम्रो भएमा युरोप पठाउन पनि सकिन्छ, त्यसका लागि किसान र कार्यालयको पहल भइरहेको छ,’ अधिकारीले भने, ‘नियमित र अझै उत्पादन बढाउन सकियो भने निर्यात पनि सम्भव छ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आएको बजेटबाट आलु उत्पादनमा अझै वैज्ञानिकीकरण गर्ने योजना कार्यालयको छ । परियोजनामार्फत पोखरा र बुटवलमा कृषि उपज प्रशोधन केन्द्र खोल्ने सरकारी कार्यक्रम सफल भएमा किसानले उत्पादन गर्ने सबै फसलले सहज बजार पाउने उनले बताए । प्रशोधन केन्द्र स्थापना भएमा मकै, गहुँ र जौको सुजी बनाउने, दलहनलाई प्रशोधन गरेर सोझै बिक्री गर्ने तथा आलुका परिकार बनाएर महँगोमा बिक्री गर्न सकिने योजना छ ।

अर्थ वाणिज्य

नेपालको जलविद्युत्मा एन्ड्रिटजले सहयोग गर्ने

काठमाडौं (कास)– नेपालमा हाइड्रोपावर इक्विपमेन्टसको आपूर्ति गर्ने अस्ट्रियन कम्पनी ‘एन्ड्रिटज हाइड्रो’ ले नेपालमा जलविद्युत् क्षेत्रको विकासमा सहयोग गर्ने जनाएको छ । ‘कस्टमर्स डे २०१७’ का अवसरमा राजधानीमा आयोजित दुईदिने कार्यक्रमपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै एन्ड्रिटज हाइड्रोका वरिष्ठ उपाध्यक्ष अलेक्जेन्डर स्वाबले नेपाललाई सहयोग गर्ने बताएका हुन् । ‘नेपालमा जलविद्युत् विकासमा कम्पनीको सहयोग उच्च प्राथमिकतामा छ,’ उनले भने, ‘नेपाल जलविद्युत् क्षेत्रमा लगानी गर्ने उर्वरभूमि रहेकाले यो क्षेत्रको विकासमा लगानीकर्तालाई प्रोत्साहित गर्न राजनीति र सरकारी प्रतिबद्धता आवश्यक छ । ’ उनले दुईदिने कार्यक्रमले नेपालको जलविद्युत् क्षेत्रमा रहेको चुनौती र सम्भाव्यताहरूका लागि नेपाल र अन्य विभिन्न मुलुकका सरोकारवालालाई छलफल गर्ने थलो प्रदान गरेको बताए । एन्ड्रिटज हाइड्रो नेपाल प्रालिका सीईओ दिनेश श्रेष्ठले जलविद्युतका उपकरणहरू आपूर्ति गर्ने सन्दर्भमा कम्पनीको सबैभन्दा बढी लगानी रहेको बताए ।

अर्थ वाणिज्य

नेपाली कागजले दियो रोजगारी

नेपाली कागज उद्योगमा ३२ महिला कामदार
दैनिक ५ देखि ७ सयसम्म कमाउँदै महिला
- टीकाप्रसाद भट्ट
रामेछापको मन्थलीस्थित शैलुङ नुम्बुर कागज उद्योगमा काम गर्दै महिला । तस्बिर : टीकाप्रसाद/कान्तिपुर 

रामेछाप– मन्थलीमा नेपाली कागज बनाउने काममा महिलाहरूको आकर्षण बढेको छ । नेपाली शैली र जापानी प्रविधिको हातेकागजबाट मनग्ये आम्दानी हुन थालेपछि महिलाको रुची बढेको हो ।
उच्च पहाडी क्षेत्रमा त्यत्तिकै खेर जाने लोक्ता फिटेर नेपाली कागज बनाउँदा रामेछापका महिलालाई राम्रो आम्दानी मिलेको हो ।
कागज उद्योगमा लोक्ता भिजाउने, पकाउने, पेल्ने, चाल्ने र फर्मामा हाल्ने काम सबै महिलाले गर्छन् । लघु उद्यमी समूह संघको तालिमपछि तीन वर्षदेखि लोक्ताको बोक्राबाट नेपाली कागज बनाउन उनीहरू जुटेका हुन् ।
मन्थलीको आकाशेमा रहेको शैलुङ नुम्बुर नेपाली कागज उद्योगमा स्थानीय ३२ महिलाले काम पाएका छन् । कागज उद्योगमा काम गर्दा महिलाहरूको राम्रो आर्जन छ । ‘घरको काम सक्यो आयो, बेलुका घर फर्कंदा ५ देखि ७ सय आर्जन गर्न सकिएको छ,’ उद्योगमा आंशिक समय काम गर्दै आएकी सुमित्रा नेपालीले भनिन् । महिलाहरूले घरखर्च, बालबालिका पढाउनेदेखि बचत गर्नसम्म सकेको उनले सुनाइन् । नेपाली काजगको बजार माग धान्न धौधौ परेको उद्योग सञ्चालक भरत श्रेष्ठले बताए । मन्थलीमा उत्पादन भएको कागज आन्तरिक बजारका अतिरिक्त काठमाडौंसम्म पुग्ने गरेको छ । स्थानीय तहले दिने सिफारिस, अनुसूची, सामुदायिक संस्थामा गरिने कागज, सहकारीमा लेनदेनको कारोबारलगायतमा नेपाली कागजकै प्रयोग हुन्छ ।
जिल्लाका अन्य उद्योगबाट उत्पादन भएको कागज मन्थली बजारमा आइपुग्दैन । उक्त उद्योगले गत आर्थिक वर्षमा मात्र २ हजार ६ सय कोरी कागज (२ सय ताउको एक कोरी) उत्पादन गरी बजारमा पठाएको थियो । उक्त कागज बिक्री गर्दा ४८ लाख रुपैयाँ आर्जन भएको उद्योगले जनाएको छ । मन्थलीको कागज उद्योग बाह्रै महिना चल्छ । समूहमा आबद्ध महिलाहरूले दैनिक ज्यालाका अतिरिक्त बाहय क्षेत्रबाट आउने अनुदानको रकमबाट सेयरसमेत पाएका छन् । ‘हामी कामदार मात्र हैनौं मालिक पनि भइसकेका छौं,’ नेपालीले भनिन्, ‘आफ्नै उद्योग, आफ्नै सीपका कारण सबैले मिहिनेत गरेका छौं ।’ जिल्ला लघु उद्यमी समूह संघका अध्यक्ष गुञ्जबहादुर कार्कीले मन्थलीको कागज उद्योग जिल्लाकै नमुना भएको बताए ।
नेपाली कागज बनाउने कच्चा पदार्थ लोक्ता जिल्लाका झन्डै ३५ सामुदायिक वनमा पाइने गर्छ । त्यसमध्ये करिब २० बनको लोक्ता मन्थली आइपुग्छ । धेरै पानी नपर्ने स्थान भएकाले मन्थलीमा कुनै दिन पनि उद्योगको काम रोकिँदैन । कागज बनाइसकेपछि सुकाउनुपर्ने हुन्छ । मन्थली कागज सुकाउनका लागि जिल्लाकै उपयुक्त स्थान मानिन्छ । बिहीबार उक्त उद्योगको नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर वुदले अवलोकन गरेका थिए ।

अर्थ वाणिज्य

पोल्ट्री प्रदर्शनी हुने

चितवन (कास)– भरतपुरमा पोल्ट्री तथा लाइभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । पोल्ट्री तथा लाइभस्टक क्षेत्रको समग्र र अत्याधुनिक परिवर्तनका साथै व्यावसायिक रूपमा विकास गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो । पोल्ट्री महासंघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा कात्तिक १७ देखि १९ सम्म हुनेछ । प्रर्दशनीमा विभिन्न देशको पोल्ट्री तथा लाइभस्टकका १ सय ७० स्टल रहेका छन् ।

 

अर्थ वाणिज्य

सञ्चालक फरार

नेपालगन्ज (रासस)– यहाँ सञ्चालित शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको रकम लिएर सम्पर्कविहीन भएका छन् ।
दिनहुँजसो ठूलो संख्यामा बचतकर्ता सहकारीमा रकम झिक्न गए पनि नपाएर निराश र आक्रोशित भएर फर्किने गरेका छन् । सहकारीका १ हजार २ सयजना बचतकर्तामध्ये २ सय ५० बचतकर्ताको रकम सहकारीले दिन सकिरहेको छैन । ‘सञ्चालकसँग टेलिफोनमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन, कार्यालयमा पनि ताला लाग्ने र खुल्ने गरेको छ,’ एक कर्मचारीले भने ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सहायक प्रवक्ता प्रहरी निरीक्षक वीरबहादुर थापाले उक्त संस्थाविरुद्ध मंगलबार उजुरी परेको जानकारी दिए ।

Page 18
खेलकुद

बक्सिङमा ललिता विजयी

काठमाडौं (कास)– नेपाली बक्सर ललिता महर्जनले भियतनामको होची मिन सहरमा बिहीबार सुरु एसियन वुमन इलाइट बक्सिङ च्याम्पियनसिपको पहिलो खेल जितेकी छन् ।
४८ केजी तौल समूहकी प्रतिस्पर्धी ललिताले सिगांपुरकी लिना हु जिन ईविरुद्ध सफलता पाएकी हुन् । तीन राउन्डको भिडन्तमा ललिताले हु जिनलाई अंकका आधारमा हराएर अघिल्लो चरण पक्का गरिन् ।
बिहीबारै प्रतिस्पर्धा गरेका विमला श्रेष्ठ र संगीता सुनार भने पराजित भएका छन् । ५४ केजी तौलकी विमला चीनकी पियोपियो लिउसँग अंकका आधारमा हारिन् । संगीता ६० केजीमा श्रीलंकाकी डुलान्जनी लाकापुरङगीसँग अंककै आधारमा पराजित भइन् । नेपालकी अर्की प्रतिस्पर्धी पूनम रावल भने वाई पाएर क्वाटरफाइनल पुगेकी छन् । शुक्रबार हुने क्वाटरफाइनलको ६४ केजी तौलमा पूनमले थाइल्यान्डकी पेमालिन लाकपेनसँग प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ संघले जनाएको छ ।

खेलकुद

रियलमाथि टोटेनहमको सान

युरोपेली च्याम्पियन्स लिग

 

पेरिस (एएफपी)– इङलिस टोली टोटेनहम हट्स्परले युरोपेली च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई बुधबार ३–१ ले पराजित गरेको छ । जितसँगै टोटेनहम समूह ‘एच’ को शीर्षस्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । विजयी टोलीका लागि डेले अलीले दुई र क्रिस्टियन एरिक्सनले एक गोल गरे । रियलका लागि क्रिस्टियानो रोनाल्डोले दस मिनेट बाँकी छँदा सान्त्वना गोल गरेका थिए ।
समूह चरणका दुई खेल बाँकी छँदै स्पर्स दोस्रो चरणमा पुगेको हो । यद्यपि रियलले भने अर्को चरणमा पुग्न अझै कुर्नुपर्ने छ । रियलले पछिल्ला पाँच वर्षयता पहिलोपल्ट समूह चरणको खेलमा हार बेहोर्‍यो । ला लगाको पछिल्लो खेलमा जिरोनासँग पराजित भएसँगै रियलका प्रशिक्षक जिनेदिन जिदान दबाबमा छन् । यसै महिनाको अन्त्यमा अपोइललाई पराजित गरे मात्र रियल दोस्रो चरणलाई छनोट हुनेछ ।
समूहको अर्को खेलमा अपोइलले बोरुसिया डर्टमुन्डलाई १–१ को बराबरीमा रोक्यो । राफेल गुर्रेरोको गोलमा अघि बढेको डर्टमुन्डले दोस्रो हाफमा अग्रता गुमायो । माइकल पोटेले ५१ औं मिनेटमा बराबरी गोल गर्दै डर्टमुन्डको जितविहीन यात्रालाई निरन्तरता दिए ।

म्यानचेस्टर सिटीका सर्जियो अगुइरो । एएफपी
समूह ‘एफ’ को खेलमा म्यानचेस्टर सिटीले नेपोलीलाई ४–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । यसक्रममा फरवार्ड सर्जियो अगुइरोले क्लबका लागि १ सय ७८ औं गोल गर्दै सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा गरे । शतप्रतिशत जित यात्रालाई कायम गर्ने अभियानमा रहेको सिटीले खेलमा खराब सुरुआत गर्‍यो । नेपोलीका लोरेन्जो इन्सिन्याले घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए । निकोलास ओटामेन्डीले बराबरी गोल गरेको केही समयपछि अर्का डिफेन्डर जोन स्टोन्सले सिटीलाई अग्रता दिलाए । जोर्गिन्होले पेनाल्टीमार्फत खेललाई पुन: बराबरीमा ल्याए पनि अगुइरोले सिटीलाई अग्रता दिलाउन लामो समय खर्चेनन् । यस गोलसँगै अगुइरोले एरिक ब्रुकको नाममा रहेको सिटीका लागि १ सय ७७ गोलको कीर्तिमान तोडे । यसै समूहको अर्को खेलमा साख्तार डोनेस्कले फेयेनुर्डलाई ३–१ ले हरायो । डच टोली सुरुआती अग्रता लिए पनि लगातार तीन गोल खाँदा प्रतियोगिताबाट बाहिरियो । उसका लागि निकोलाई जोर्गेन्सनले सुरुआती गोल गरे । साख्तारका लागि फाकुन्डो फेर्रेराले बराबरी गोल गरेपछि मार्लोसले दुई गोल थपे । दोस्रो चरणमा पुग्न साख्तारले अर्को खेलमा नेपोलीसँग बराबरी खेले पर्याप्त हुनेछ ।
लिभरपुलले समूह ‘ई’ को खेलमा मारिबोरलाई ३–० ले हराउँदै दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो हाफ गोलरहित रहेको खेलमा लिभरपुलबाट दोस्रो हाफमा तीन गोल भयो । उसका लागि मोहमद सलाह, एम्रे च्यान र ड्यानियल स्टुरिजले गोल गरे । लिभरपुलका जेम्स मिल्नरले पेनाल्टीबाट गोल गर्ने मौका चुकाएका थिए । समूहको अंकतालिकामा लिभरपुल शीर्षस्थानमा छ । स्पार्टाक मस्कोलाई २–१ ले पराजित गर्दै सेभिया दोस्रो स्थानमा
उक्लिएको छ । लिभरपुलभन्दा एक अंक कम बोकेको सेभियाका लागि क्लेमेन्ट लेङलेट र एभर बानेगाले गोल गरे ।
पुछारको टोली मोनाकोसँग १–१ को बराबरीमा रोकिएपछि बेसिक्टासले समूह ‘जी’ बाट दोसो चरणको स्थान सुरक्षित गर्ने मौका गुमायो । रोनी लोपेसले मोनाकोलाई अगाडि बढाए पनि सेन्क टोसुनले पेनाल्टीबाट बराबरी गोल गरेका थिए । टर्किस टोलीलै दोस्रो चरणमा पुग्न अर्को खेलमा एफसी पोर्टोसँग बराबरी गरे पर्याप्त हुनेछ । अंकतालिकाको दोस्रो स्थानको पोर्टोले आरबी लाइप्जिगलाई ३–१ ले हरायो । टोलीका हेक्टर हर्रेरा, ड्यानिलो परेरा र म्याक्सी परेराले गोल गरे । लाइप्जिगका टिमो वेर्नरले बराबरी
गोल फर्काएका थिए ।

 

खेलकुद

बुङताङको संघर्षपूर्ण जित

यू–१८ भलिबल
बुङताङ (रातो) र ग्लासियर कलेजका खेलाडी प्रतिस्पर्धा गर्दै । तस्बिर सौजन्य : राखेप

काठमाडौं (कास)– बुङताङ भलिबल टिम बिहीबार प्रथम प्याब्सन
यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।
पुरुषतर्फ नुवाकोटको बुङताङले कोटेश्वरको ग्लासियर कलेजलाई ३–२ सेटमा हराएको थियो । सेमिफाइनल पुगेको बुङताङले २३–२५, २५–९, २३–२५, २५–२३, १५–१३ सेट जितेको हो । नुवाकोटका आशिष मगर म्यान अफ द म्याचमा चुनिए ।
कञ्चनपुरको लिटिल बुद्ध एकेडेमी, भक्तपुरको स्प्रिङडेल एकेडेमी, ढोरपाटन स्पोर्टस क्लब र न्युटन हाइस्कुल क्वाटरफाइनल पुगेका छन् । लिटिल बुद्धले काभ्रे विद्यालय भलिबल कमिसनलाई २५–१३, २५–१९ ले, स्प्रिङडेलले दोलखाको सैलुङघ्याङ युवा क्लबलाई २५–१७, २५–१५ ले, ढोरपाटनले आरुणी स्कुललाई २५–१६, २५–२३ ले र न्युटनले सुर्खेत भलिबल संघलाई २५–१८, २५–१३ ले हराए ।
महिलातर्फ श्रीगाउँ खेलकुद विकास समितिले टप्स मावि र ढोरपाटनले एभरेस्ट स्कुलसँग क्वाटरफाइनल भेट पक्का गरे । दाङको श्रीगाउँले काभ्रे विद्यालय भलिबल कमिसनलाई २५–१६, २५–९ र पोखराको टप्सले बिन्ध्यावासिनी स्कुललाई २५–१८, २५–१४ ले हराए । ढोरपाटन स्पोर्टसले माफलाई २५–८, २५–८ को सोझो सेटमा हराउदा रूपन्देहीको एभरेस्ट बोर्डिङले वाकओभर पायो ।

खेलकुद

दोस्रो टेस्ट बराबर

बुलावायो (एएफपी)– जिम्बावे र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट बराबरीमा सकिएको छ । अन्तिम दिन जिम्बावेको तल्लो क्रमका ब्याट्सम्यानले सुदृढ ब्याटिङ गरेपछि खेलमा स्पष्ट नतिजा आउन सकेन । बिहीबार १४०–४ को स्थितिमा इनिङ्स सुरु गरेको जिम्बावे खेल सकिँदा ३०१–७ को स्थितिमा थियो । मध्यक्रमका ब्याट्सम्यान सिकन्दर राजाले २ सय ३ बल खेल्दै ८९ रन बनाए । रेगिस चकाबा ७१ रनमा अविजित रहँदा कप्तान ग्रिम क्रेमर २८ रनमा खेलिरहेका थिए । यी दुईले आठौं विकेटमा ९१ रनको साझेदारी गरे ।
जिम्बावेले पहिलो इनिङमा ३ सय २६ रन बनाउँदा वेस्ट इन्डिजले जवाफमा ४ सय २८ रन बनाएको थियो । दुवै इनिङ्समा ८० रनभन्दा बढी बनाउनुका साथै ५ विकेट लिएका राजा म्यान अफ द म्याच भए । दुई टेस्टमा कुल १३ विकेट लिएका देवेन्द्र बिसु म्यान अफ द सिरिज भए । पहिलो टेस्टमा १ सय १७ रनको जित पाएको वेस्ट इन्डिजले सिरिज १–० ले जित्यो ।

 

Page 19
खेलकुद

नेपालको बंगलादेशसँग हार

- कान्तिपुर संवाददाता
म्यान अफ द म्याच ट्रफी वितरण कार्यक्रममा नेपाली यू–१९ क्रिकेट टोली । बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल ३ विकेटले हारेको थियो । तस्बिर सौजन्य : रमन सिवाकोटी

काठमाडौं– मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटको तयारीमा रहेको नेपाली यू–१९ टोली बिहीबार बंगलादेश यू–१९ सँग ३ विकेटले पराजित भएको छ । ं
बंगलादेशको साभारस्थित बीकेएसपी मैदानमा बंगलादेश यू–१९ ले टस जितेपछि ब्याटिङ गर्न आएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई १ सय ५३ रन बनायो । ओपनर नाइम शेखले ५३ रन बनाएपछि बंगलादेशले ३९ ओभरमै
लक्ष्य पूरा गर्‍यो ।
नेपालबाट पनि ओपनर आसिफ शेखले सर्वाधिक ३२ रन बनाए । ७७ बल खेलेका उनले ३ चौका प्रहार गरे । अर्का ओपनर सन्दीप सुनार १ रनमा आउट भए । अनिलकुमार शाहले १८ रन जोडे । १९ ओभरमा ६४–२ को स्थितिमा रहेको नेपालले सोही रनमा कप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेललाई गुमायो ।
दुवैलाई नायिम हसनले लगातार बलमा आउट पारे । दीपेन्द्रले २४ बल खेल्दै २ चौका प्रहार गरी १६ रन बनाए । रोहित १ बलमात्र टिक्न सके । भीम सार्कीले ४६ बलमा २ चौका र २ छक्कासहित २८, पवन सर्राफले ५१ बलमा २ चौका प्रहार गरी १९, कमलसिंह ऐरीले ३४ बलमा १७ रन जोड्दै नेपालको स्कोर हेर्नलायक बनाए । शाहब आलम र किशोर महतो समान ६ रनमा आउट भए । सन्दीप लामिछाने १ रनमा नटआउट रहे । बंगलादेश यू–१९ बाट नायिम हसनबाहेक हसन महमुद र काजी अनिक इस्लामले ३–३ विकेट लिए ।
बंगलादेशबाट नाइम शेखले ६५ बल खेल्दै ८ चौका प्रहार गरे । प्रिनक घोष १४ रनमा रनआउट र साइफ हसनलाई पवनले ७ रनमा आउट गरेको अवस्थामा शेखले टोहिद हृदलीसँग तेस्रो विकेटमा ४६ रन जोडे । हृदलीले ६६ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । त्यसपछि सन्दीपले २ र शाहबले १ विकेट लिँदा बंगलादेश १२६–७ को स्थितिमा पुगेको थियो । हृदलीले म्यान अफ द म्याच काजी अनिक इस्लाम (नटआउट) सँग मिलेर बंगलादेशलाई जिताएका थिए ।
नेपालबाट सन्दीपले १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर ४ विकेट लिए । तीन खेल सिरिजको दोस्रो खेल शनिबार हुनेछ ।

 

खेलकुद

टयालेन्ट हन्ट

काठमाडौं (कास)– ललितपुर पेट्रियट्सले टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि कात्तिक २४ मा टयालेन्ट हन्ट गर्ने भएको छ । ईपीएलमा सहभागी फ्रेन्चाइज टोलीले कम्तीमा एक खेलाडी टयालेन्ट हन्ट गरेर आफ्नो क्षेत्रको राख्नुपर्ने प्रावधान छ ।
त्यसैका लागि ललितपुरले टयालेन्ट हन्ट गर्न लागेको हो । इच्छुक खेलाडीले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा फर्म भरेर बुझाउनुपर्नेछ । पेट्रियट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले टयान्लेन्ट हन्टबाट अनिवार्य १ खेलाडी र अरु ४ खेलाडी एक्सपोजरका लागि टिममा राखिने बताए । उनका अनुसार सुरुमा ५० खेलाडी छान्ने र २६ मा म्याच खेलाएर राम्रो आएमा ५ जनासम्म टिममा राखिनेछ ।

 

Page 20
खेलकुद

क्यानको निर्वाचन अनुचित : आईसीसी

- विनोद पाण्डे

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आफूहरूबीच भएको सहमति विपरीत विधान संशोधन गरिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) को आसन्न केन्द्रीय निर्वाचनमा सहभागिता जनाउनु अनुचित भएको स्पष्ट पारेको छ ।
भदौ ६ गते भएको विशेष साधारणसभामा क्यानले संशोधनसहित नयाँ विधान पारित गरेको थियो । त्यसलाई राष्ट्रिय खेलकुद परिषद्ले भदौ २६ मा स्वीकृति दिएको थियो । राखेपको स्वीकृतिपछि क्यानले पुस ९ भित्र जिल्ला, प्रदेश हँुदै केन्द्रको निर्वाचन गर्ने जानकारी दिएको थियो । त्यसअनुसार ३९ मध्ये ३७ जिल्लामा निर्वाचन सम्पन्न भइसकेका छन् ।
यद्यपि आईसीसीले पारित भएको संशोधन विधान आफूहरूबीचको सहमति विपरीत रहेको जनाएको छ । आईसीसीले गत वर्षको वैशाख १३ मा क्यानलाई निलम्बन गरेको थियो । क्यानको निलम्बन फुकुवा गर्न र संशोधनसहित नयाँ विधान बनाउनका लागि आईसीसीले ८ सदस्यीय सल्लाहकार समिति बनाएको थियो । सल्लाहकार समिति, क्यान र आईसीसीबीच भएका विभिन्न चरणका वार्ताहरूपछि क्यानले विशेष साधारणसभा बोलाएको थियो ।
कान्तिपुरलाई प्राप्त इमेलअनुसार आईसीसीका हेड अफ ग्लोबल डेभलपमेन्ट विलियम ग्लेनराइटले निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुर्‍याललाई संशोधित बुँदाहरूमा विश्व क्रिकेटको सर्वोच्च संस्थाको ध्यानाकर्षण भएको जानकारी गराएका छन् ।
‘सल्लाहकार समितिद्वारा संशोधित तथा प्रस्तावित क्यानको विधान विशेष साधारणसभामा पारित नभएकोमा आईसीसी बोर्डको ध्यानाकर्षण भएको छ,’ ग्लेनराइटले प्याकुर्‍याललाई पठाएको इमेलमा भनेका छन्, ‘सल्लाहकार समितिले सहमति जनाएका बाहेक २७ बुँदा संशोधित गरी विशेष साधारणसभाले पारित गरेको छ । ल्याइएका परिवर्तनका विषयमा हामीले कानुन परामर्श खोजिरहेका छौं र यसपछि मात्र ती परिवर्तनका विषयमा छलफल गर्नेछौं ।’
उक्त इमेलमा अगाडि भनिएको छ, ‘कानुनी परामर्शपछि मात्रै हामीले काठमाडौंमा अगाडि चाल्ने कदमहरूका विषयमा छलफल गर्न म प्रस्ताव राख्दछु । तत्कालका लागि आईसीसी र क्यान सहमतिमा नपुगुन्जेलसम्म हामीले संशोधित विधानको निर्वाचनमा सहभागिता जनाउनु अनुचित हुन्छ । विधान कार्यान्वयनमा कुनै पनि गतिविधि हालका लागि स्थगित गर्न हामी सुझाव दिन्छौं ।’
आईसीसीले क्यानले गरेका संशोधनहरूमै प्रश्न उठाएपछि हालै भएका जिल्ला निर्वाचनहरू पनि आईसीसीको स्वीकृतिबिनै भएको देखिन्छ । सल्लाहकार समितिको अन्तिम बैठकमा क्यानका ३१ मध्ये निर्वाचित भएर आएका १७ सदस्यले एक कार्यकाल लागि मताधिकार पाउनुपर्ने अडान राखेको प्याकुर्‍यालले जनाउँदै आएका छन् । जबकि आईसीसीका पछिल्ला इमेलहरूमा क्रिकेटसँग सरोकारवालाहरूले प्रस्तावित विधानमा सबैको सहमति रहेको जनाउँदै आएको लेखिएको छ । प्याकुर्‍यालले अक्टोबर २० मा आईसीसीलाई इमेल पठाउँदै संवैधानिक प्रावधानअनुरुप अनुगमन समिति गठन गर्नका लागि आईसीसीका प्रतिनिधि पठाउन अनुरोध गरेका थिए ।
आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले सेप्टेबर २६ मा पठाइएको इमेलमा निलम्बन फुकुवा गर्न पुनर्बहालीका सर्तहरू पूरा भए–नभएको प्रमाणसहित उपलब्ध गराउन निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई बारम्बार आग्रह गर्दा कुनै प्रतिक्रिया नपाएको बताएका छन् । रिचर्डसनले क्यानको निर्वाचन निष्पक्ष रहे नरहेको र यसअघि भनिएको सरकारी हस्तक्षेपको समस्या पनि पूर्ण रूपमा निराकरण भए–नभएको भनी सोधेको उल्लेख गरेका छन् ।

खेलकुद

नेपालको फराकिलो हार

एएफसी यू–१९ च्याम्पियनसिप
एएफसी यू–१९ च्याम्पियनसिपमा बिहीबार प्रतिस्पर्धा गर्दै नेपालका सुमन अर्याल र बहराइनका अली हसन (रातो) । तस्बिर: एएफकेआर

काठमाडौं (कास)– एएफसी यू–१९ फुटबल च्याम्पियनसिपको छनोट चरणअन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
किर्गिस्तानको बिस्केकमा बिहीबार नेपाली टोलीले बहराइनसँग ४–० को हार बेहोर्‍यो । पहिलो हाफमा एक गोलले अगाडि रहेको बहराइनले दोस्रो हाफमा तीन गोल थप्यो । पहिलो रोजाइका दुई खेलाडी परिवर्तन गरे पनि पछिल्लो खेलमा जस्तै नेपालको डिफेन्स कमजोर देखियो ।
सुरुआती दुवै गोल अली हसन मेफ्ताको नाममा रह्यो । उनले खेलको २० र ६७ औं मिनेटमा उस्तै प्रकृतिको गोल गरे । थ्रु–पासमा आएको बललाई उनले डिफेन्सलाई बिट गर्दै गोलरक्षकको खुट्टामुनिबाट गोल गरेका थिए । ८६ औं मिनेटमा इब्राहिम मुबारकले गोलरक्षक तथा कप्तान अर्पण कार्की पोजिसनमा नहुँदा खाली पोस्टमा हेडरमार्फत अग्रता बढाए ।
नियमित आक्रमण विफल हुँदा निराश नेपाली टोलीका फरवार्ड दिनेश हेन्जनले ८८ औं मिनेटमा रातो कार्ड पाए । विपक्षी खेलाडीलाई मुक्का प्रहार गरेपछि रेफ्रीले उनलाई मैदान बाहिर पठाएका थिए । दस खेलाडीमा समेटिएको नेपालले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल खायो । फ्रिकिकबाट रिबाउन्ड आएको बलमा डिफेन्स चलायमान नहुँदा सैयद मोहमद अमिनले सहजै गोल गरे ।
दुवै खेलमा पराजित नेपाल अंकतालिकाको पुछारमा छ । नेपालले मंगलबार आयोजक किर्गिस्तानसँग २–० को हार बेहोरेको थियो । बिहीबारै पहिलो खेलमा ओमानले किर्गिस्तानलाई ३–० ले हराएको थियो । ओमान त्यही टोली हो, जसले पहिलो दिन संयुक्त अरब इमिरेट्ससँग ५–१ को हार बेहोरेको थियो । नेपालले अब संयुक्त अरब इमिरेट्ससँग शनिबार खेल्नेछ ।

खेलकुद

पहिलोपल्ट हक्की अम्पायर तालिम

- कान्तिपुर संवाददाता

हेटौंडा– नेपालमै पहिलोपल्ट हक्की खेलको अम्पायरिङ तालिम बिहीबार हेटौंडामा सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजना तथा नेपाल हक्की संघको प्राविधिक सहयोगमा साताव्यापी प्रि–लेभल–१, हक्की अम्पायरिङ तालिम सुरु भएको हो । तालिममा साबिकका ५ विकास क्षेत्र र नेपाली सेनाको तर्फबाट २–२ गरी कुल १२ जनाको सहभागिता छ । तालिममा दक्षिण एसियाली हक्कीमा कांस्य जितेका विमला भट्टसहित ३ महिला खेलाडी पनि सहभागी छन् ।
हक्कीका अन्तर्राष्ट्रिय अम्पायर सकिल कुरेसीले तालिम दिने छन् । कुरेसी विश्व हक्की प्रतियोगिता र ओलम्पिक खेलकुदमा हक्कीको अम्पायरिङ गरिसकेका अम्पायर हुन् । तालिमसँगै परीक्षा उत्तीर्ण हुनेलाई अम्पायर लाइसेन्ससमेत दिइने हक्की संघका उपाध्यक्ष अनिल शर्माले बताए । उनका अनुसार तालिममा ३५ वर्षभन्दा कम उमेरका युवा खेलाडीलाई सहभागी गराई जनशक्ति उत्पादन गर्न लागिएको हो । तालिमपछि लाइसेन्स प्राप्त गर्ने अम्पायरले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने अवसर पाउने छन् ।
२०११ सालमा हक्की संघको स्थापना भए पनि लामो समय निस्क्रिय रहेर २०६५ सालपछि पुन: हक्की संघ सक्रिय भएको हो । सन् २००७ मा भारतको मद्रासमा भएको दक्षिण एसियाली हक्की प्रतियोगिताबाट नेपालको अन्तर्राष्ट्रिय यात्रा सुरु भएको हो ।
हक्की प्रशिक्षक बाबुराम नेपालले अम्पायर तालिमको प्रयोगात्मक अभ्यासका लागि सेनाको हक्की टिम हेटौंडा आएको बताए । हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको मैदानमा सेनाको हक्की टिमसँग खेलाएर अम्पायर तालिमको प्रयोगात्मक अभ्यास गरिनेछ । तालिमका क्रममा बढीभन्दा बढी सिक्ने प्रयास गर्न प्रशिक्षक सकिल कुरेसीले आग्रह गरेका थिए । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले तालिमको उद्घाटन गरेका थिए ।

खेलकुद

ब्वाइज युनियन विजयी

छोटकरी

नवलपरासी (कास)– राइनो संरक्षण गोल्डकप फुटबलमा बिहीबार डिभाइन वाइन ब्वाइज युनियन क्लबले सरस्वती क्लवलाई ३–२ ले पराजित गरेको छ । अन्तिम समयमा ब्वाइज युनियनका लागि अफ्रिकी खेलाडी अब्बाले विजयी गोल गरेका थिए । १६ औं मिनटमा सुशील राईको गोलमा ब्वाइज युनियनले अग्रता लिएको थियो । त्यसलाई ५५ औं मिनेटमा तीर्थ बस्नेतले गोल गर्दै खेल बराबरीमा ल्याए । ५ मिनेटपछि सुशीलले पुन: गोल टोलीलाई पुनरागमन गराएका थिए । तर ८८ मिनेटमा सरस्वतीका तीर्थले गोल गर्दै दोस्रोपल्ट खेल बराबरी गरेका थिए । शुक्रबार कास्की ११ र हिमालयन शेर्पाबीच खेल हुनेछ ।

खेलकुद

रिङ रेस्लिङ हुने

छोटकरी

काठमाडौं (कास)– नेपाल रिंग रेस्लिङ संघको आयोजनामा कात्तिक २५ र २७ मा दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । काठमाडौं र इटहरीमा हुने प्रतियोगितामा ८ देशका रेस्लरको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल, अमेरिका, सिंगापुर, अस्ट्रेलिया, मलेसिया, रसिया, चेक गणतन्त्र र भारत रेस्लरले सहभागिता जनाउने संघकी अध्यक्ष सुनीता थापाले जानकारी गराइन् । कात्तिक २५ मा त्रिपुरेश्वरस्थित राखेप कभर्डहल र २७ गते इटहरीस्थित ठूलो जनता माविमा प्रतियोगिता हुनेछ । सात फरक विधामा हुने स्पर्धाका विजेता खेलाडीलाई मेडल प्रदान गरिनेछ । प्रायोजक डिस मिडिया नेटवर्कले ५० प्रतिशत खर्च बेहोर्नेछ ।

खेलकुद

तीन टोली विजयी

छोटकरी

हेटौंडा (कास)– हेटौंडा–७ नागस्वतीमा बिहीबार सुरु एट ए साइड राष्ट्रिय फुटबलमा सानो गौचरन, वीरगन्ज युनाइटेड र एबीसी पोखरा विजयी भएका छन् ।
सानो गौचरनले भरतपुर भेट्रान चितवनलाई टाइब्रेकरमा ४–३ ले हरायो । वीरगन्जले सनसाइन कैलालीलाई १–० ले हराउँदा रोशन श्रेष्ठले विजयी गोल गरे । एबीसीले वीरगन्ज युथमाथि ३–० को विजय पाउँदा हरि खड्काले दुई र मानकाजी गुरुङले एक गोल गरेका थिए । सानो गौचरनका गोलरक्षक राजेन्द्र गौतम, वीरगन्जका राजेश जोशी र एबीसीका हरि खड्का म्यान अफ द म्याच भए । विजेताले ६० र उपविजेताले ४० हजार पाउने आयोजक हेटौंडा भेट्रान्सले जनाएको छ ।

 

Page 24
हेल्लो शुक्रवार

होटल क्यालिफोर्निया

- हिमेश

यसमा कसैको ‘सेकेन्ड थट्स’ हुने छैन कि ‘इगल्स’ पश्चिमेली संगीतमा सबैभन्दा सुनिएको ब्यान्डमा पर्छ । नहोस् पनि किन र ? एकसेएक हिट गीत दिएको अमेरिकी ब्यान्ड हो, यो । सन् १९७१ मा स्थापना भएको इगल्सका दुई फ्रन्टम्यान हुन्, ग्लेन फ्रे र डन हेनली । फ्रेको गत वर्ष मात्र अप्रत्याशित निधन भएको थियो । उनलाई छाडेर ब्यान्डका अरू सदस्य अझै संगीतमा सक्रिय नै छन् ।
इगल्सको खातामा पाँच नम्बर १ गीत छ अनि ६ ग्रायमी अवार्ड्स । त्यस्तै ६ नम्बर १ एल्बम । अब के चाहियो र ? त्यसैले इगल्सलाई सन् सत्तरीतिरको पश्चिमेली संगीत देखेको स्वर्णीम युगको सफल ब्यान्ड मानिन्छ । यही ब्यान्डको प्रख्यात एल्बम हो, होटल क्यालिफोर्निया । अमेरिकाकै मात्र चर्चा गर्ने हो भने पनि यो त्यति बेला सर्वाधिक बिकेको २० एल्बमभित्र पर्छ । इगल्सका गीत सुन्नुपर्छ, पश्चिमेली संगीत मन पर्दैन भन्ने पनि यसतर्फ लोभिन्छन् भनिन्छ,
यो ब्यान्डको सबैभन्दा ठूलो विशेषता यही हो ।
अहिले यतिखेर फेरि एकपल्ट यही ब्यान्डको चर्चा छ र कारण रहेको छ, यही प्रसिद्ध होटल क्यालिफोर्निया एल्बम निस्केको यसपल्ट ४० वर्ष पुगेको छ । यही एल्बम नाम नै होटल क्यालिफोर्नियाबाट रहेको हो र यो गीत कसले मात्र सुनेको छैन होला ? खासमा यो इगल्सको पाँचौं स्टुडियो एल्बम हो, सन् १९७६ को अक्टोबरमा निस्केको । यसअघि नै ब्यान्ड निकै चर्चित र सफल भइसकेको थियो । यो एल्बमले ब्यान्डलाई अझ लोकप्रिय बनाउन मद्दत गरेको थियो ।
यसको प्रमुख गीत त होटल क्यालिफोर्निया रह्यो नै, यसबाहेक यसका अरू दुई गीत पनि उत्तिकै लोकप्रिय र सफल रहे, न्यु किड इन टाउन र लाइफ इन द फास्ट लेन । ब्यान्ड आफैं मात्र यो ४० वर्षको अवसरबाट कसरी चुक्न सक्छ र ? त्यसैले इगल्स आउने महिना यसै नाममा एल्बम निकाल्दै छ र यसमा समावेश हुने १० गीत लाइभ ट्रयाक हुनेछन् । इगल्सकै भाषामा यो ब्यान्डका प्रशंसकहरूका लागि मीठो उपहार हो । प्रतीक्षाको एल्बम हुनेछ, यो । यो एल्बमलाई लिएर हेनलीले लस एन्जलस टाइम्सलाई भनेका छन्, ‘होटल क्यालिफोर्निया सन् १९७६ को अन्त्यतिर रिलिज भएको थियो । यसले खासै सफलता र चर्चा बटुल्न सुरु गरेको भने सन् १९७७ लागेपछि मात्र हो । त्यसैले यो एल्बमको ४० वर्ष मनाउन हामीले ढिला पनि गरेनौं होला ।’ लस एन्जलस टाइम्समा इगल्सबारे अहिले एकपछि अर्को स्टोरीहरू पनि आइरहेका छन् र यो स्वाभाविक पनि छ किनभने ब्यान्ड आफै लस एन्जलसको हो ।


ब्यान्डले यो एल्बमबाट पहिलो पल्ट निकालेको गीत न्यु किड इन टाउन थियो र यो छिट्टै चार्टमा परेको थियो । यसै गीतले एल्बमलाई उकास्न मद्दत गरेको थियो । त्यसपछि टाइटल गीत होटल क्यालिफोर्निया रिलिज भयो र यसले तुरुन्तै लोकप्रियता हासिल गरेको थियो । गीत रिलिज हुन अगाडि भनिएको थियो, यो निकै लामो छ, त्यसैले यसलाई केही छोट्याउनुपर्छ । वास्तवमै यो ६ मिनेटभन्दा लामो गीत हो । तर ब्यान्डले कुनै हालतमा पनि समय काट्न मानेन ।
अहिले बाँकी सबै इतिहास भइसकेको छ, ४० वर्षपछि त्यसलाई फर्केर हेर्दा । एल्बमको तेस्रो गीत लाइफ इन द फास्ट लेन पनि पछि चार्टमा उत्तिकै लोकप्रिय रह्यो । अनि एल्बम आफैं पनि पश्चिमेली संगीतमा सर्वाधिक बिक्री भयो र सफलमा पर्‍यो । अहिले आउने होटल क्यालिफोर्नियाका डिलक्स संस्करण पनि हुनेछ र यसमा हुनेछन्, दुई सीडी । एउटामा ओरिजिनल गीत हुनेछ, अर्कोमा लाइभ भर्सन । अनि सँगै अहिलेसम्म प्रकाशित नभएका इगल्सका तस्बिर सम्मिलित पुस्तक पनि ।
यति चर्चा गरेपछि सबैले सोधिने प्रश्न अझै बाँकी छ र यो हो, के होटल क्यालिफोर्निया वास्तवमै कतै कहीं छ त ? के यो नामको होटल पनि छ त ? यही नामको होटल मेक्सिकोमा छ र यो लोकप्रिय पनि छ । तर गीतमा भनिएको होटल यो होइन । खासमा गीत लेखिँदा यसको कल्पना मात्र गरिएको थियो । तर यो गीतमा होटलबारे जति पनि बयान गरिएका छन्, ती सबै भने सत्य हुन् । ब्यान्डले प्रसिद्धी कमाएयता भोगेका आफ्ना अनुभव हुन्, यो गीतका शब्दहरू ।

[email protected]

Page 25
हेल्लो शुक्रवार

सूर्योदयदेखि चियाबारीसम्म

तस्बिर : भीम घिमिरे

इलामे सहर चियाबारी राम्रो... गीत त्यसै चर्चित भएको होइन, यो सुदूरपूर्वी जिल्ला वास्तवमै मनै लोभ्याउने स्थानहरूले भरिएको छ । तर इलामको पहिचान चियाबारी मात्रै होइन र बादलभित्र क्षणभरमै लुकिरहने डाँडाहरू मात्र पनि होइन । यहाँको भौगोलिक बनोट, चिया, नगदे बालीले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन, तालतलैया र सिमसार क्षेत्रलगायतले पनि आगन्तुकलाई आनन्दित तुल्याउने गर्छ । नेपालमै पहिलो इलामको चिया बगान, काठैकाठको संरचना भएको इलाम बजार, नारायणथान, माईथान, सिंहबाहिनी सेतीदेवीले पनि पर्यटक भुलाउन थालेको यस क्षेत्रमा सहरको व्यस्तताबाटै सुटुक्कै निस्केर ग्रामीण जीवनशैली र संस्कृति अनुभव गर्न सकिन्छ । इलामका मुख्य सात पर्यटकीय गन्तव्यबारे विप्लव भट्टराई लेख्छन् :

सन्दकपुर
उत्तरी सीमावर्ती सन्दकपुर क्षेत्र पूर्वाञ्चलकै प्रमुख गन्तव्यमध्येको पर्यटकीय स्थल हो । सदरमुकामबाट सन्दकपुरको दूरी करिब ५० किलोमिटर छ । यहाँ नेपालतिर व्यवस्थित होटल छन् भने भारततर्फ सरकारी आवास गृह । ३ हजार ६ सय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट सगरमाथा, कञ्चनजंघालगायत नेपाल, भारत र भुटानका थुप्रै हिमाललाई आँखामा कैद गर्न सकिन्छ । सूर्योदय दृश्यावलोकनका लागि पनि सन्दकपुर अब्बल स्थान हो । यो क्षेत्र धार्मिक र जैविक विविधताले पनि महत्त्वपूर्ण छ । 
कन्काई माईको उद्गम स्थल सन्दकपुर क्षेत्रमा असोजदेखि जेठसम्म पर्यटकको लर्को हुन्छ । 
युरोप, अमेरिकादेखि भारतका विभिन्न सहरबाट यहाँ घुम्न आउने गर्छन् । यहाँ चैत–वैशाखमा डाँडै ढाक्ने गरी ढकमक्क फुलेको गुराँसले मन लोभ्याउँछ । सदरमुकाम इलामबाट माईपोखरी माईमझुवा हुँदै गोरुवालेबाट सन्दकपुर पुग्न सकिन्छ । माबुबाट कालपोखरी हुँदै पनि सन्दकपुर पुगिन्छ । 

माईपोखरी

इलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरको रामसार क्षेत्रमा सूचीकृत छ माईपोखरी । यसमा रैथाने गलैंचे, झ्याउ, रूख भ्यागुतो, ठकठके जस्ता दुर्लभ जन्तु र वनस्पति पाइन्छन् भने ३ सय बढी चराका प्रजाति पाइने विज्ञहरू बताउँछन् । २ हजार १ सय २१ मिटरको उचाइमा रहेको माईपोखरीमा दुई हेक्टर जलाशयसहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिएको छ । माईपोखरीमा होटलहरू पनि छन् । मेची राजमार्गको बिब्ल्याँटेबाट ९ किलोमिटर दूरीमा रहेको यहाँ पूजापाठसहित घुमघामका लागि आउनेहरूको भीड देखिन्छ । तिहारपछिको ठूली एकादशीमा मेला पनि लाग्छ ।

अन्तु
पूर्वी अन्तु र समालबुङका बासिन्दाले पटक–पटक महोत्सव आयोजना गरेर अन्तुलाई पर्यटकीय गन्तव्यका रूप दिइसकेको छ । सूर्योदय हेर्न मुलुककै उत्कृष्ट स्थान मानिएको अन्तुमा भौतिक पूर्वाधार विकासदेखि पर्यटकको बसोबासलाई स्थानीय खट्ने गर्छन् । लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, हराभरा चियाबारी, अतिथि सत्कार अन्तुको लोभलाग्दो पाटो हो । ७ हजार ६ सय ३७ फिट उचाइमा रहेको अन्तु पुग्न फिक्कलबाट १३ किलोमिटर सडक पार गर्नुपर्छ । यहाँ असोजको पहिलो सातादेखि पर्यटक बढ्छन् । सडकको अवस्था सुधार र अन्तुपोखरीमा डुंगा निरन्तर चल्ने हुँदा १२ महिना नै पर्यटकको उपस्थिति हुने गर्छ ।


कन्याम
चियाको पर्याय बनेको कन्याम वनभोज स्थलले चर्चित छ । असोजदेखि वैशाखसम्म वनभोज आउनको सयौं गाडी यहाँ देखिन्छ । मेची राजमार्गले चिरेको कन्याम चिया बगान फिक्कलभन्दा १० किलोमिटर नजिक पर्छ । कन्याम, नजिकैको हाँसपोखरी, कुटीडाँडा, पाथीभरा मन्दिर, करफोक, फिक्कललगायत क्षेत्रमा तराईमा असाध्य गर्मी हुने भएकाले चिसोको आनन्द लिन पर्यटक आउने गरेका छन् । 

ढापपोखरी
समुदाय स्तरको प्रयासबाट पर्यटकीय गन्तव्य बनेको हो ढापपोखरी । सन्दकपुर गाउँपालिका ५ जमुनाका बासिन्दाले सिमसार क्षेत्रलाई पोखरीको रूप दिँदै डुंगा सञ्चालनमा ल्याएका छन् । १ हजार ७ सय मिटरको उचाइमा रहेको यो पोखरीमा डुंगा सञ्चालन थालिएपछि आन्तरिक पर्यटकको ताँती लागेको छ । ५० रोपनी क्षेत्रफलमा फैलिएको पोखरीमा माछापालन गर्दै फिसिङ गर्ने सुविधा दिने स्थानीयको योजना छ । सन्दकपुर रेडपान्डा पाइने स्थान हाँगेथाम, चोयाटार, दोबाटे, टोड्के झरना, माईपोखरी, जौबारीलगायत यात्राको केन्द्रका रूपमा यसलाई हेरिएको छ ।

सिद्धिथुम्का
पश्चिमी सिद्धिथुम्कावासी पनि पर्यटन विकासमा लागेका छन् । सदरमुकाम इलाम बजारबाट २० किलोमिटर पश्चिममा अवस्थित सिद्धिथुम्का डाँडा सूर्योदय र सूर्यास्त तथा हिमशृंखला तराईका फाँटलगायतको दृश्यावलोकन गर्न अब्बल छ । ऐतिहासिक खान्द्रुङ गुफा, पञ्चमी बजार, अजम्बरी डाँडा पनि पर्यटकीय महत्त्वका छन् ।

माङसेबुङ
किराँत धर्मस्थलका रूपमा परिचित माङसेबुङ धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास हुँदै गएको छ । धार्मिक भावना बोकेर यो क्षेत्रमा पुग्नेहरूको कमी हुँदैन । धर्मगुरु आत्मनन्द लिङदेनको बासस्थान रहेको यो क्षेत्रमा गुरुको जन्मोत्सवको अवसरमा महोत्सव नै सञ्चालन हुने गरेको छ । झापाको दमकबाट करिब २० किलोमिटर उत्तरमा रहेको यो क्षेत्र पुग्न सडकको दूरवस्थाले भने निकै कठिन हुन्छ ।

गजुरमुखी
पश्चिमी गजुरमुखी धाम धार्मिक आस्थाका कारण महत्त्वपूर्ण मानिन्छ । सदरमुकामबाट ५० किलोमिटर दूरीमा यो स्थान रहेको छ । मेची राजमार्गको नेपालटारबाट मंगलबारे हुँदै गजुरमुखी पुग्न सकिन्छ । मंगलबारेसम्म कालोपत्रे र त्यसउताको सडक ग्राभेल गरिएकाले त्यहाँ पुग्न सहज छ ।

 तस्बिरहरू :  विप्लव भट्टराई 

हेल्लो शुक्रवार

स्वदेशी माछा विशेष

- सुरज कुँवर

काठमाडौंस्थित बिजुलीबजार पुलनजिक रहेको छ, द फिस क्याफे । कन्टिनेन्टल, चाइनिज रेसिपी वा माछा नमिसाइएको भेज मेनु खोज्न पाइँदैन किनकि यहाँका हरेक आइटममा माछा अनिवार्य जस्तै छ ।
चार वर्षदेखि जिउँदो माछा देखाएर बिक्री गर्दै आइरहेका सिरहा विष्णुपुर, थलहाका ललन यादव यसका सञ्चालकमध्येका एक हुन् । जसले केही महिनाअघि मात्रै दोस्रो भेन्चरका रूपमा यो क्याफे सञ्चालनमा ल्याएका हुन् ।
यहाँ भारतीय बजारबाट मारेर ल्याइएको होइन, तराईका बाराको सिम्रौनगढ, चितवनको माडी, नवलपरासी आसपासका किसानले पोखरीमा हुर्काएका भाकुर, ग्रास कार्प, कमन कार्प, रहु, नैनी लगायतका माछाका परिकार तयार हुन्छन् ।
रमाइलो त के छ भने, यो क्याफेभित्र सानो पोखरी छ । जहाँ पौडिरहेका माछा हेरेर अर्डर गर्न पाइन्छ । अर्थात् मरेका माछा यहाँ बिक्री हुँदैनन्, जुन स्वस्थकर हुन्न । सञ्चालक यादवका अनुसार हरेक दिन तराईबाट प्लास्टिकको पानी ट्यांकी (५ सय लिटर क्षमता भएको) भित्र जिउँदा माछा पिकअप गाडीमा आयात गरिन्छ । यो क्रम हरेक दिन जस्तै चल्दोरहेछ यहाँ । दैनिक १ देखि २ सय किलोग्राम माछा यहाँबाट खपत हुन्छ । आयात गरिएका सबै माछा यहाँको क्याफेमा परिकारका रूपमा पाक्दैनन् । जिउँदै खरिद गरेर घर लैजाने माछाका क्रेजीहरूले मात्रै दैनिक सयभन्दा बढी किलोग्राम माछा खपत गर्छन् । बाँकी यो क्याफेमा आउने अतिथिहरूका लागि सेफ सिकेन्द्र कुमारले कराई, तावा वा कुकरमा विभिन्न परिकार बनाउँछन् ।
गुजरातमा ८ वर्ष माछाकै परिकार बनाउने काम गरेका सिकेन्द्र भन्छन्, ‘मैले माछाका ४० आइटम बनाउन सिकेको छु, तर यहाँका सबैभन्दा पपुलर आइटम तावा सेट, माछाको टाउकाको सुप, होल स्टिम फिस ह्विथ भेजिटेबल छन् । अर्को यहाँको पपुलरमध्येमै पर्ने हो माछाको झोलसँग नेपाली खाना ।


ठेट नेपाली सस्र्युंमा मोलेको माछामा मिसाइने नेपाली मसलाहरूले माथि उल्लेख गरिएका रेसिपीहरूको स्वादलाई चखिलो स्वाद भरिएको तिख्खर बनाउने रहेछ । फलामको कराईमा सानो आगोमा १३ आइटम भरिएका मसलामा बनाइने परिकार खाँदा गाउँघरको कुनै खोलाको माछा खाइरहेको आभास हुन्छ । सेफले माछाका परिकारमा गरम मसलादेखि लिएर, नरिवलको धूलो, चाट मसला, खरबुजा, दालचिनी, कालो मरिच, इमलीको धूलो लगायतका मरमसला राख्न छुटाउँदैनन् ।
काठमाडौंका धेरै माछा पारखी जिउँदो माछा खाना ककनी पुग्ने गर्छन् । त्यहाँ बग्ने चिसो पानीमा रेन्बो ट्राउटका परिकार बनाइन्छन् । त्यही ट्ेरन्डलाई पछ्याउँदै सञ्चालक यादवले नयाँ बानेश्वरमा यो आउटलेट ल्याएको भनेका छन् ।
जिउँदो माछा ४ सय ५० देखि ७ सय रुपैयाँ किलोग्राममा बिक्री हुने यो क्याफेमा होल फिस ४ सय ५०, माछाको झोलसँग टिपिकल नेपाली खाना ३ सय ५० रुपैयाँमा उपलब्ध हुन्छ । माछा र रोटीमा रुचि भएकाहरूलाई तावा रोटीको व्यवस्था गरिएको छ ।


जिउँदो माछाबाट व्यवसाय थालेका २८ वर्षीय यादवको संकल्प भने अलि बेग्लै छ । ‘अबको ३/४ वर्षपछि फर्मालिन हालेर ल्याइएका भारतीय (मरेका) माछा होइन, नेपाली किसानले उत्पादन गरेका जिउँदा माछा खाने दर बढाउने लक्ष्य राखेको छु,’ जनकपुरबाट व्यवस्थापनमा स्नातक सकेका उनले भने । facebook.com\1stnepali

Page 26
हेल्लो शुक्रवार

हलोविन नाइट

३१ अक्टोबर । विशेषगरी पश्चिमा देशहरुमा हलोविन मनाउने गरिन्छ । यसमा मृत आत्माले स्वर्गमा बास पाऊन् भनी कामना पनि गरिन्छ । राजधानीका ठमेललगायत केही पर्यटकीय क्षेत्रमा पनि हलोविनमा बेग्लै रौनक देखिन्छ ।

 

तस्बिरहरु : महेश प्रधान

हेल्लो शुक्रवार

इम्याजिन लोमान्थाङ

- हेलो शुक्रबार
तस्बिर : अनन्त भूषण पौंडेल

नेपालमा कतिपय पर्यटकीय डेस्टिनेसनमा अहिले पनि बिनारोकतोक सजिलै घुम्न विदेशीलाई रोक लगाइएको छ । फिल्म बनाउन, साहसिक गतिविधि, घुमफिर गर्न अहिले पनि विदेशीले गृह मन्त्रालय मातहतको अध्यागमन विभागबाट ट्ेरकिङ पर्मिट अनिवार्य लिनुपर्छ । यस्ता ‘रेस्ट्रिक्टेड’ डेस्टिनेसन १३ जिल्लामा १५ भन्दा बढी छन् ।
उत्तरी नेपालको अपरमुस्ताङ पनि ‘रेस्ट्रिक्टेड’ सूचीमा पर्ने सुन्दर गन्तव्य हो । तिब्बती शरणार्थीहरूले ५८ वर्षअघि चलाएको खम्पा विद्रोहपछि तत्कालीन सरकारले यो क्षेत्रमा निर्वाध घुमफिर गर्न रोक लगाएको छ । यसै ठाउँका लागि आगामी सोमबार एउटा अफरोड यात्रा हुँदै छ । जसमा विदेशी होइन, ६० जनाजति नेपाली सहभागी हुँदैछन् । गत वर्ष काठमाडौंबाट तनहँु हँुदै मस्र्याङ्दी नदीको किनारै किनार धूलो उडाउँदै ८० जना नेपालीको समूहलाई मनाङ पुर्‍याउने इम्याजिन नेपालले यसपटकको अफरोड यात्राको आयोजना गरेको हो ।
यो अफरोड यात्रा ३ हजार ८ सय ४० मिटर उचाइको अपरमनाङस्थित लोमान्थाङमा पुगेर बिट मार्ने छ । गौतम बुद्ध, सगरमाथाको देश मात्रै भनेर पर्यटन क्षेत्रमा रटान गरिरहने सरकार र केही व्यवसायीहरूका लागि यो फरक र नवीन प्रयास हो । संसारमै घुम्ने मात्रै होइन, अहिले मानिसहरू त्यस सँगसँगै नयाँ अनुभव पनि लिन चाहन्छन् । जब कुनै गन्तव्यमा एक्टिभिटी जोडिन्छ तब मात्रै त्यो पूर्ण हुन जान्छ । नेपालमा यस्तो प्रयास नभएको होइन । पर्यटन बोर्डका सीईओ दीपकराज जोशीका अनुसार पहिले–पहिले ३/४ जना मिलेर ह्यापाजार्डली शैलीमा नेपालीहरू मुस्ताङलगायत क्षेत्रका लागि घुम्न निस्किन्थे । अहिले व्यवस्थित तरिकाले घुम्ने परम्पराको थालनी भएको छ । यसअन्तर्गत रारा, मनाङ, मुस्ताङ प्रमुख अफरोड गन्तव्यका रूपमा चिनिएका लङ रुट हुन् ।


नेपालमा पछिल्ला वर्ष समूह बनाई आर्थिक, सामाजिक र राजनीतिक हैसियत बलियो भएका कर्पाेरेटम्यानलाई यसरी देश चिनाउनका लागि गरिएको प्रयास ज्यादै
सराहनीय बताउँछन्, सीईओ जोशी । उनी भन्छन्, ‘प्राय: नेपाली व्यवसायी फुर्सद हुनेबित्तिकै विदेश उड्छन् तर, इम्याजिन नेपालले थालेको यो अफरोड यात्राले कर्पाेरेटम्यानलाई ती स्थानमा पुर्‍याउने मात्रै नभई उनीहरूको माध्यमले ती स्थानबारे बाहिरी विश्वले पनि जानकारी पाउनेछ ।’
अहिले संसारभर अफरोड ट्राभल बढेको छ । नेपालमा पनि यो क्रम मुस्ताङबाट सुरु भएको भन्छन् पोखराका छिरिङ लामा । पोखरामा बेस राखेर व्यवसाय सुरु गरेका छिरिङ बेला–बेला समूह बनाएर यस्तै अफरोड ट्राभल गराउँदै आएका छन् । ‘समय नहुने र हिँड्न नसक्नेका लागि अफरोड एडभेन्चर उपयुक्त हो,’ ओजोन एक्सपिडिसनका प्रबन्ध निर्देशक लामाले भने ।
व्यस्त व्यवसायीहरूका लागि साइट सिन, स्थानीय कल्चर बुझ्न र भूगोलबारे जानकारी लिन अफरोड ट्रिप प्रभावकारी हुन्छ । पोखरेली छिरिङ त्यहाँबाट मुस्ताङ मात्रै होइन, रारा, मनाङ पनि फोरह्विल ड्राइभ आयोजना गरिरहन्छन् । एक साता हाराहारी हुने यस्तो टुरमा उनी प्रतिव्यक्ति कम्तीमा ३० देखि ३५ हजार शुल्क लिन्छन् । शुल्क सर्भिसका आधारमा थपघट पनि हुन्छ ।
यसपटकको अफरोड यात्रामा काठमाडौंकी टीना मास्के पनि सहभागी हुँदैछिन् । ड्राइभिङमा प्यासन भएकी उनी आफैं काठमाडौं–लोमान्थाङ–काठमाडौंसम्म गाडी कुदाउनेछिन् । १८ वर्षदेखि ड्राइभिङ गर्दै आएकी टीना मुस्ताङसम्म गएकी छन् । ‘म यो विधामा रुचि राख्छु, अफरोड मोटर हाँक्नेहरूको एडभेन्चर समूहमा पनि आबद्ध छु,’ ४३ वर्षीय टीनाले भनिन् । टीनाका श्रीमान् र दुई छोरा पनि अफरोड यात्रामा रुचि राख्छन् । गत वर्ष उनका श्रीमान् विश्व मास्के छोराहरूका साथ मनाङ पुगेका थिए ।
अफरोड मोटर बिक्रेता अग्नि समूहका एसिस्टेन्ट डाइरेक्टर वरदान बस्नेत पछिल्ला वर्ष ट्राभल रिलेटेड डोमेस्टिक पर्यटनमा राम्रो स्कोप देख्छन् । उनी ३/४ वर्षयता ‘फोरह्विल ड्राइभ’ क्षमताका गाडीको बिक्री बढेको बताउँदै भन्छन्, ‘सबै सडक स्तरीय छैनन् । बाह्रै महिना चल्ने रोड थोरै भएको हाम्रो जस्तो मुलुकमा यस्ता साधन यात्रु सेवाबाहेक पर्यटकीय गतिविधिका लागि पनि उपयुक्त छन् ।

हेलो टेक

नोकिया टु सार्वजनिक

नोकिया ब्रान्डको लाइसेन्स पाएको फिनल्यान्डको कम्पनी एचडीएमआई ग्लोबले नोकिया टु फोन सार्वजनिक गरेको छ । कम्पनीले यसै साता सार्वजनिक गरेको फोनले एक चार्जमा दुई दिन ब्याट्री ब्याकअप दिन सक्ने दाबी गरेको छ । कम्पनीले भनेअनुसार भएमा ब्याट्रीका हिसाबले यो फोनले अन्य फोनलाई बजारमा उछिन्ने छ ।
फोन एन्ड्रोइड नुगट अपरेटिङ सिस्टमसहित उपलब्ध हुनेछ र एन्ड्रोइडको पछिल्लो भर्सन नुगट अपडेट हुनेछ । फोनमा ८ मेगापिक्सेलको रेअर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहने कम्पनीले जनाएको छ । फोनमा ५ इन्चको स्क्रिन हुनेछ ।
तीन रङमा उपलब्ध हुने फोन बजारमा १ सय १५ डलर मूल्यमा बिक्री हुनेछ । चाँडै यो विश्वभर उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ ।

हेलो टेक

ह्वाट्सएपमा डिलिट पनि

म्यासेजिङका लागि लोकप्रिय एप ह्वाट्सएपले प्रयोगकर्तालाई पठाइसकेको म्यासेज डिलिट गर्ने नयाँ फिचर सुरु गरेको छ । यसै साता उपलब्ध अपडेटमा सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न सक्नेछन् ।
झुक्किएर अर्कै व्यक्तिलाई म्यासेज गए वा म्यासेज गरेपछि गल्तीको आभास भए डिलिट गर्नका लागि यो फिचर उपयोगी हुनेछ । प्रयोगकर्ताले पठाइसकेको म्यासेजमा केहीबेर ट्याप गरेपछि उपलब्ध हुने डिलिट अप्सनमा थिचेपछि डिलिट फर एभ्रिवान अप्सन देख्न सक्नेछन् । कुनै व्यक्ति वा ग्रुपमा पठाएको म्यासेज डिलिट गर्न सकिने कम्पनीले जनाएको छ । यसमा आफ्नो फिडमा नदेखिने गरी मात्रै डिलिट गर्न पनि सकिनेछ ।
ह्वाट्सएपको प्रतिस्पर्धी भाइबरले यसअघि नै यो फिचर सुरु गरिसकेको छ । कम्पनीले एक वर्षदेखि यो फिचरका लागि काम गरेको जनाएको छ ।

हेलो टेक

युट्युब एपमा नयाँ फिचर

भिडियो सेयरिङ लाइब्रेरी युट्युबले अघिल्लो वर्षदेखि नै १० हजारभन्दा बढी फलोअर हुने च्यानललाई मोबाइल एपबाटै लाइभ गर्ने सुविधा सुरु गरेको थियो । अब भने युट्युबले एन्ड्रोइड एपबाट यस्ता च्यानल सञ्चालकलाई भिडियो लाइभ सेड्युल गर्ने सुविधा सुरु गरेको छ ।
युट्युबले यसै सातादेखि यो फिचर सुरु गरेको जानकारी दिएको छ । अहिले चल्तीमा रहेको फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सोसल मिडियाले सबै प्रयोगकर्तालाई लाइभ गर्ने सुविधा दिएका छन् । तर, युट्युबमा भने अझै सबै प्रयोगकर्ताले लाइभ गर्ने सुविधा पाएका छैनन् ।

 

Page 27
हेल्लो शुक्रवार

न्यु किड्स अन द ब्लक

फिल फोडेन

इङ्ल्यान्डको युवा टिमले सनसनीपूर्ण प्रदर्शन गर्दै भारतमा आयोजित फिफा यू–१७ विश्वकपको उपाधि शनिबार जित्यो । भारतीय महाद्वीपमा आयोजित सबभन्दा ठूलो फुटबल प्रतियोगिता १७ वर्षमुनिको भए पनि सिनियर टिममै रहेर खेलेका र खेल्न सक्ने प्रतिभावान् खेलाडीहरू विश्वकपमा सहभागी भएका थिए । फाइनल हेर्न कोलकाता पुगेका सुबास हुमागाईंको रोजाइमा यू–१७ विश्वकपका उत्कृष्ट सात खेलाडी :


१। फिल फोडेन
मिडफिल्डर, इंग्ल्यान्ड
म्यानचेस्टर सिटीबाट प्रि–सिजनमा सिनियर टोलीबाट खेलिसकेका फोडेन प्रतियोगिताकै उत्कृष्ट खेलाडी भए । फाइनलमा इंग्ल्यान्डलाई खेलमा फर्काउन मुख्य भूमिका निभाएका उनले दुई गोल गरे । सामान्यतया मिडफिल्डको मध्यभागमा खेल्न रुचाउने उनलाई प्रशिक्षक स्टिभ कुपरले दायाँबाट खेलाएका थिए । उनले अपेक्षा गरेअनुसार प्रदर्शन गरेपछि इंल्यान्डले प्रतियोगिताको उपाधि जितेको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फोडेनको प्रदर्शनबाट आफू निकै प्रभावित भएको बताए ।

२। ग्याब्रिएल ब्राजाओ
गोलरक्षक, ब्राजिल
सामान्यतया ब्राजिलको टोली भनेपछि प्राविधिक रूपमा निपुण टोलीका रूपमा चिनिन्छ । तर यसपटक गोलरक्षक ग्याब्रिएल ब्राजाओ टोलीका नायक रहे । ६ फिट ३ इन्च अग्ला ब्राजाओले प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बन्दै गोल्डेन ग्लोभ पनि जिते । पहिलो खेलदेखि नै उत्कृष्ट प्रदर्शन गरेका उनले विपक्षीका थुप्रै आक्रमण विफल तुल्याए । ब्राजाओ ब्राजिलियन टोली क्रुजेरियोको रिजर्भ टोलीको सदस्य रहेका छन् ।

३। रिहान ब्रेस्टर
फरवार्ड, इङ्ल्यान्ड
लिभरपुलको सिनियर टोलीमा समेटिएको अनुभव बोकिसकेका ब्रेस्टर समूह चरणमा खासै चल्न सकेनन् । तर, नकआउट चरणमा जेडन सान्चो डर्टमुन्ड फर्केपछि थपिएको जिम्मेवारी उनले उत्कृष्ट ढंगले वहन गरे । क्वार्टरफाइनलमा अमेरिकाविरुद्ध र सेमिफाइनलमा ब्राजिलविरुद्ध लगातार ह्याट्रिक प्रहार गरेका उनले फाइनलमा पनि महत्त्वपूर्ण गोल गरे । प्रतियोगितामा ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको गोल्डेन बुट जितेका ब्रेस्टरले ब्रोन्ज बल पनि हात पारे ।

४। सर्जियो गोमेज
मिडफिल्डर, स्पेन
स्पेनको मिडफिल्डलाई चलायमान बनाउन मुख्य भूमिका निभाएका सर्जियो गोमेज दायाँ मिडफिल्डको भूमिकामा खेलेका थिए । फाइनलमा दुई गोलो गरे पनि जित दिलाउन नसकेका उनले प्रतियोगितामा कुल ४ गोल र दुई असिस्ट दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीमध्येका एक उनले सिल्भर बल पनि हात पारे । बार्सिलोनाको ला मासियामा युवा टोलीबाट खेल्दै आएका उनले छिट्टै बार्सिलोनाको ‘बी’ टोलीमा खेल्ने अपेक्षा गरिएको छ ।

५। यान फिटे आर्प
फरवार्ड, जर्मनी
जर्मनीका कप्तान रहेका आर्प बुन्डेसलिगा टोली ह्यामबर्गसँग आबद्ध छन् । उनले यू–१७ विश्वकपका ५ खेलमा ५ गोल गरे । दुवै खुट्टा उत्तिकै चलाउन सक्ने क्षमता भएका आर्प बुन्डेसलिगमा यस शताब्दीमा जन्मिएका पहिलो गोलकर्ता हुन् । उनले गत साता हर्था बर्लिनको घरेलु मैदानमा गोल गरेका थिए । उनले यस सिजन सिनियर टोलीमा निकै मौका पाउने अपेक्षा गरिएको छ ।

६। अबेल रुइज
फरवार्ड, स्पेन
स्पेनका कप्तान अबेल रुइजले प्रतियोगितामा ६ गोल गर्दै सिल्भर बुट हात पारे । बार्सिलोनाको ‘बी’ टोलीको नियमित सदस्य रहिसकेका रुइजले यसअघिको युरोमा पनि सिल्भर बुट हात पारेका थिए । भ्यालेन्सियाको युवा टोलीबाट ला मासिया आएका रुइजलाई स्पेनका दिग्गज फरवार्ड डेविड भिल्लासँग दाँजिएको छ ।

७। लासाना एनडाए
फरवार्ड, माली
मालीलाई सेमिफाइनलसम्म ल्याउँदा फरवार्ड लासाना एनडाएले ६ गोल गरे । उनले प्रतियोगिताको ब्रोन्ज बुट पनि हात पारे । मालीको गुइडार्स एफसीमा आबद्ध रहेका उनलाई युरोपका ठूला क्लबले आँखा लगाएका छन् । निकै छरिता फरवार्ड ५ फिट ७ इन्च उचाइका एनडाए शारीरिक रूपमा पनि बलिया छन् ।