पहेंलो सुनको कालो धन्दा
काठमाडौं– १७ अर्ब १ करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला अदालत मोरङमा बुधबार पेस गरिएको अभियोगपत्रसँगै वर्षांैदेखि सुन तस्करी कसरी निर्बाध चलिरहेको थियो भन्नेबारे अनेक तथ्य सतहमा आएका छन् । अदालतमा पेस गरिएका ६३ प्रतिवादी, पक्राउ परेकाको बयान र तिनीहरूको भूमिका सम्मिलित प्रतिवेदनले सुन तस्करीको संगठित अभ्यासबारे नयाँ तथ्य उधिनेको छ । तस्करीको माथिल्लो तहमा को–को थिए र यसलाई क–कसले भरथेग गरिरहेका थिए भन्नेबारे जिज्ञासा थपिएको छ ।
संगठित तस्करको समूहले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा कार्यरत कर्मचारी, लोडर र प्रहरीका उच्च अधिकारीहरूसँगको मिलेमतोमा कसरी गुपचुप अवैध धन्दा चलिरहेको थियो भन्ने प्रतिवादीहरूको बयानबाट खुलेको देखिन्छ । उनीहरूले फ्लाई दुबई र थाई एयरलाइन्समार्फत दुबईबाट सुन ओसारेको अनुसन्धानले देखाएको छ । दुबईबाट आउने सुन मुख्यत: दुई तरिकाले विमानस्थलबाट बाहिरिने गरेको देखिन्छ । पहिलो तरिका बिस्कुट आकारको सुन विमानभित्रको ट्वाइलेटमा हाल्ने र फ्लस गर्ने । उक्त सुन विमान अवतरण भएपछि सफाइ मजदुरका रूपमा जाने कर्मचारीले ट्वाइलेटको दिसापिसाब जाने पाइप खोलेर सफा गर्ने भाँडामा राखेर बाहिर ल्याउने । दोस्रो तरिका भनेको विमानभित्र झोलामा राखेर ल्याइएको सुन विमानबाट ओर्लिने क्रममा प्रयोग हुने भर्याङयुक्त गाडीको माथिल्लो भागमा बनाएको प्वालभित्र खसाल्ने । यसरी खसालिएको सुन भर्याङको तल्लो भागमा गएर जम्मा हुन्थ्यो । यात्रु ओर्लिसकेपछि भर्याङयुक्त गाडी पार्किङमा लगिन्थ्यो । सीसीटीभी कभरेज नहुने उक्त क्षेत्रमा राति भर्याङबाट सुन निकालिन्थ्यो ।
प्रतिवादीहरूको बयानअनुसार पछिल्लो चार वर्षयता ठूलो परिमाणमा नियमित तवरमा सुन तस्करी भइरहेको देखिएको छ । विशेष समितिले ४ सय २१ पटक विमानस्थल हुँदै सुन तस्करी भएको निष्कर्ष निकालेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा सुन तस्करीका मुख्य व्यक्ति भनिएका ‘गोरे’ भन्ने चूडामणि उप्रेतीको अनामनगरस्थित फ्ल्याटबाट बरामद गरिएका ९ डायरीमा उल्लेख भएको सुन ल्याउने व्यक्तिको नाम, परिमाण, ल्याएको मिति र ल्याउने भरियाको नामसमेत समावेश छ । अभियोगपत्रमा २०१५ जुलाईयता ४ सय २१ पटक ल्याइएको उल्लेख छ ।
अभियोगपत्रमा गोरेको फ्ल्याटमा भेटिएको डायरीमा तस्करीको सुन ओसारपसारमा प्रहरीसँग सहयोग लिएबापत क–कसलाई कति रकम दिइएको थियो भनेर पनि उल्लेख छ, जसमा डीआईजी, एसएसपी, एसपी, डीएसपी र जवानलाई कुन समयमा कति रकम दिइएको थियो भन्ने उल्लेख छ ।
गोरेले तस्करीको सुन ओसारपसारमा सहयोग गरेबापत विभिन्न पटक गरेर प्रहरीलाई २ करोड बीस लाख ७७ हजार रुपैयाँ दिएको देखिन्छ । स्रोतका अनुसार विशेष समितिले हस्तलिखित सबै डायरी परीक्षणका निम्ति प्रहरीको विधिविज्ञान प्रयोगशालाका पठाएको छ । परीक्षणपछि ती अक्षर कहिले लेखिएका थिए, एकै व्यक्तिले लेखेका हुन् कि फरक–फरक व्यक्तिले भन्नेजस्ता तथ्य खुल्नेछन् ।
विमानस्थलमा कार्यरत कर्मचारी राजन थापाको बयानले दुबईबाट आएको सुन कर्मचारीहरूले कसरी विमानस्थलबाहिर पुर्याउँथे भन्ने तथ्य खोतलेको छ । थापाले सुन लिएर आउने यात्रुलाई विमानस्थलमा कार्यरत कर्मचारी राज महर्जनले भेटेर नेपाल एयरलाइन्सको बसमार्फत जहाजको ह्यांगरमा लैजाने र त्यहाँबाट आफू र प्रेमलाल चौधरीले उक्त सुन लिएर विमानस्थलबाहिर आउने गरेको बताएका छन् । उनले २०७४ जेठको अन्तिम साता तीन केजी सुन विमानस्थलबाहिर पुर्याएबापत ५० हजार रुपैयाँ पाएको समेत बताएका छन् । थापाले प्रत्येक हप्ताको अन्तरमा गरी ५ पटकसम्म सुन ओसारेको र त्यसबापत ५० हजार रुपैयाँका दरले रकम लिएको बताएका छन् । त्यसमध्ये एक पटक ६ केजी र अर्को पटक ८ केजी सुन ओसारेको बताएका छन् । उनको बयानबाट त्रिभुवन विमानस्थलमा अवैध सुन तस्करीको धन्दा कसरी नियमित रूपमा गुपचुप चलिरहेको थियो भन्ने बुझाउँछ ।
बयानका क्रममा थाई एयरलाइन्समा कार्यरत कर्मचारी हेमन्त मल्लले अवैध सुन कसरी विमानस्थल बाहिर ल्याइन्थ्यो भन्ने बताएका छन् । उनले थाई एयरको विमान काठमाडौं अवतरण गरेपछि एलबी भन्ने लालबहादुर मगरले यात्रु उत्रने भर्याङयुक्त गाडी विमानको ढोकामा जोड्ने र यात्रु उत्रिसकेपछि दोराम खत्रीले विमानभित्रको शौचालयको डस्टबिनमा राखिएको सुन ल्याउने गरेको बताएका छन् । मल्लले भनेका छन्, ‘भुजुङ गुरुङलगायतले ल्याएको सुन दोरामले यात्रु झर्ने भर्याङको छेउमा बनाएको प्वालबाट भित्र खसाल्थे । म र बालकृष्ण श्रेष्ठले यसरी सुन छिराएको अरूले देख्लान् भनेर छेक्ने गथ्र्यौं । गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठले यात्रुको आवतजावत व्यवस्थापन गरेर अरूले थाहा नपाउने वातावरण बनाउँथे ।’
हेमन्तले बयानका क्रममा आफूले झन्डै एक सय पटक तस्करीको सुन विमानस्थलबाहिर पठाउन सहयोगी भूमिका निर्वाह गरेको र त्यस्तो कामबापत ६ हजार ५ सयदेखि ३७ हजार रुपैयाँसम्म लिएको बताएका छन् । उनले भनेका छन्, ‘पटक–पटकको सुन तस्करीबाट मैले १८ लाखजति सम्पत्ति आर्जन गरेँ ।’
थाई एअरलाइन्समा टेक्निसियन हेल्पर पदमा काम गर्ने सम्बिरप्रसाद तोलाङ्गेले पनि थाई एयरबाट आउने सुन कसरी बाहिर निकालिन्थ्यो भनेर बयानमा बताएका छन् । उनले विमानस्थलका सिनियर टेक्निसियन पदमा कार्यरत सानु बनले भनेपछि आफू तस्करीको काममा लागेको बताएका छन् । सानु तिनै व्यक्ति हुन्, जो ३३ किलो सुन हराएपछि चूडामणि उप्रेतीको निरन्तरको धम्की र दबाबपछि विमानस्थलभित्र गुडिरहेको ट्रयाक्टरमुनि छिरेर आत्महत्या गरेका थिए । सम्बिरले विमानबाट यात्रु निस्केपछि विमानभित्रको टाइलेटमा एयरहोस्टेस र अन्य यात्रुलाई जान नदिने काम गर्ने गरेका थिए । उनले भनेका छन्, ‘रात परेपछि सानु बन विमानभित्र जान्थे र ट्वाइलेटभित्र रहेको सुन निकालेर धेरै वटा पकेट भएको ज्याकेटमा लुकाएर ल्याउँथे ।’ उनले हप्तैपिच्छे सुन आउने र बाहिर निकाल्न सहयोग गरेबापत ६ हजारदेखि ६५ हजार रुपैयाँसम्म पाएको बताएका छन् ।
प्रहरीले विमानस्थलभित्र काम गर्ने थाई एअरलाइन्स र नेपाल एअरलाइन्सका १३ कर्मचारीविरुद्ध संगठित अपराधमा मुद्दा चलाएको छ । त्यसमा अधिकांश लोडर, हेल्पर, टेक्निकल असिस्टेन्टजस्ता तल्लो पदमा कार्यरत कर्मचारी छन् । राजन, हेमन्त र सम्बिरको भनाइले विमानस्थलबाट कसरी संगठित तबरले बारम्बार सुन बाहिरिने गथ्र्यो र त्यसको परिमाण कति रहन्थ्यो भन्ने बुझाउँछ ।
को हुन् फरार भनिएकाहरू ?
तस्करीको सुन अनुसन्धान गर्न बनेको विशेष समितिले सुनका मुख्य कारोबारी भनिएका गोरे भनिने चूडामणि उप्रेतीसहित ३४ जनालाई फरार प्रतिवादी बनाएको छ जसमा दुबई बस्ने गोरेकी श्रीमती नर्वदा खरेल उप्रेती, सुन तस्करीमा सहयोगीको भूमिका खेल्ने गोरेकी भाइबुहारी दुर्गा खरेल, भाइ रमेश उप्रेती, बाबु डोलेन्द्र खरेल छन् । सुन ओसारपसारमा संग्लन रहेका कृष्ण बस्नेत, मोहम्मद उस्ताद मियाँ, कमल कार्की, रोहित आचार्य, भोजराज भण्डारी, दुबई बस्ने सन्दीप खड्गा, अनामनगरस्थित गोरेको गोप्य अफिसमा काम गर्ने भविन राई र गोरेकी प्रेमिका भनिएकी रक्षा भण्डारीलाई पनि फरार प्रतिवादी बनाइएको छ ।
तस्करीको सुनमा विभिन्न व्यापारीको लगानी रहेको पनि अनुसन्धानले देखाएको छ । विशेष समितिले बाजेको सेकुवा नामक चेन फुड रेस्टुरेन्टका सञ्चालक चेतन भण्डारी, दरबारमार्गमा सुन पसल सञ्चालन गर्ने सुनील अग्रवाल र लक्ष्मी गोल्ड प्यालेसका प्रमोद श्रेष्ठलाई पनि फरार प्रतिवादी बनाएको छ । प्रमोद अघिल्लो साढे ३३ किलो तस्करीको सुनमा पनि प्रतिवादी बनेका थिए । प्रमोद २०७४ जेठ ३० गते काठमाडौं जिल्ला अदालतमा सात लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।
भेटिएला सम्पत्ति ?
संगठित सुन तस्करीमा संग्लनहरूले अवैध आर्जन कहाँ लगानी गर्छन् ? अनुसन्धान अधिकारीका निम्तिसमेत यो प्रश्न टाउको दुखाइको विषय बनेको छ । बैंक च्यानलको कमै प्रयोग गर्ने तस्करहरूले तस्करीको कमाइ विभिन्न व्यक्तिका नाममा लगानी गर्ने गरेको देखिन्छ । तर त्यसको अकाट्य प्रमाण नभेटिने हुँदा तस्करहरूको अकुत आर्जनको पाटो प्रमाणित हुन जटिल हुने गरेको यसअघिका घटनाले देखाउँछन् । जस्तो कि, साढे ३३ किलोभन्दा धेरै सुन तस्करीको घटनामा मुछिएका एसएसपी श्याम खत्रीको बैंक विवरण मगाउँदा अनुसन्धान अधिकारी नै छक्क परेका थिए । खत्रीको बैंक खातामा त्यतिबेला जम्मा केही लाख रुपैयाँ मात्रै देखिएको थियो भने उनले असनका साडी कुर्ताका एक मारवाडी व्यापारीलाई ३ प्रतिशतका दरले १७ लाख रुपैयाँ ब्याजमा दिएको पत्तो पाएको थियो । तर ब्याजमा दिएको उक्त रकमबारे कागजी प्रमाण प्रहरीले फेला नपारेपछि अकुत सम्पत्ति आर्जनको विषयले मुद्दामा प्रवेश पाएन ।
संगठित सुन तस्करीको अनुसन्धानमा संग्लन प्रहरी अधिकारी अवैध च्यानल प्रयोग गरेर हुने पैसाको लेनदेनको कागजी प्रमाण नभेटिँदा मुद्दा कमजोर हुने गरेको बताउँछन् । चलाख र प्रमाण लुकाउन खप्पिस यस्ता तस्कर समूहले आम्दानीको हिस्सा आफ्ना नाममा नभई विभिन्न व्यक्तिमार्फत लगानी गरेको देखिन्छ जसलाई कागजी प्रमाणका आधारमा पुष्टि गर्न जटिल हुने गरेको छ । अनुसन्धान समितिले तस्करीको सुनमा लगानी गरेका भनिएका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङको बैंक खाता रोक्का गरेर सम्पत्ति जाँच गरेको छ । भुजुङले एउटै बैंकमा विभिन्न ५ खाता खोलेको पाइएको छ जसमध्ये चार खातामा चार करोड २१ लाख ५० हजार तीन सय ८२ रुपैयाँ देखिएको छ ।
तस्करीको पुरानै समूह
२०७३ पुस २१ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलको भन्सार हँ‘दै बाहिरिएको साढे ३३ किलोभन्दा बढी सुन विमानस्थलको गोल्डेनगेट कटेपछि बरामद गरेको थियो । उक्त सुन तस्करीमा ब्युरोले फरार अभियुक्तका रूपमा प्रतिवादी बनाएकाहरू नै पछिल्लो ३३ केजी सुन तस्करीमा समेत प्रत्यक्ष रूपमा संग्लन भएको भेटिएको छ । अघिल्लो सुन तस्करीमा विमानस्थल सुरक्षामा खटिएका एसएसपी श्याम खत्रीले विमानस्थलबाहिर निकाल्न सहयोग गरेका थिए । पछिल्लो सुन पनि एसएसपी खत्रीले आफ्ना चालक विष्णु खडकालाई भनेर एक ठाउँबाट अर्को ठाउँ पुर्याउन मद्दत गरेको देखिन्छ ।
अघिल्लो घटनामा सुन तस्करहरूले विमानस्थलबाट बाहिरिएको सुन दरबारमार्गमा रहेको दरबार दोहोरी साँझमा लगेर बुझाएको र त्यहींबाट अन्यत्र पुर्याइएको तथ्य बाहिर आएको थियो । पछिल्लो तस्करीको घटनामा पनि विभिन्न स्थानमा राख्दै दरबार दोहोरीमै पुर्याइएको देखिन्छ । अघिल्लो सुन तस्करीमा दरबार दोहोरीमा रामहरि कार्कीले सुन व्यवस्थापनको काम गरेको देखिन्छ भने यो तस्करीमा पनि उनैको नाम प्रतिवादीहरूले पोलेका छन् । विमानस्थलबाट बाहिरिएको सुन कहाँ–कहाँ पुग्थ्यो भन्ने बताउने क्रममा प्रतिवादी मोहन काफ्लेले बयानमा भनेका छन्, ‘विमानस्थलबाट बाहिरिएको सुन भोजराज भण्डारी र चूडामणि उप्रेतीले दरबार दोहोरीमा लगेर हरि खडकाको मान्छे रामहरि कार्कीलाई बुझाउँथे ।’
तस्करीको सुन किनेको आरोपमा प्रतिवादी बनेका आरके ज्वेलर्सका राजेन्द्रमान शाक्य पछिल्लो सुन तस्करीमा पनि प्रतिवादी बनेका छन् । यी दुवै घटनाका प्रतिवादीको बयान हेर्दा दुबईबाट आएको सुनको एउटा हिस्सा राजेन्द्रले किन्ने गरेको देखिन्छ । दरबारमार्गमा रहेको दरबार दोहोरीबाट शाक्यले सुन लिने गरेको प्रतिवादीहरूले बयानका क्रममा बताएका छन् । शाक्य तिनै सुन व्यापारी हुन, जो अघिल्लो साढे ३३ केजी सुनको मुद्दामा डेढ लाख धरौटी बुझाएर तारेखमा छुटेका थिए । त्यतिबेला साढे ३३ किलो सुन बरामद भएलगत्तै फरार भएका शाक्य कोलकातामा बसेका थिए । उनी घटनाको चार महिनापछि सुटुक्क जिल्ला अदालतमा हाजिर भई धरौटी बुझाएर मुक्त भएका थिए ।
अघिल्लो सुन तस्करीको घटनामा केन्द्रीय अनुसन्धान ब्युरोले गोल्ड प्यालेसका प्रमोद श्रेष्ठलाई पक्राउ गरी प्रतिवादीका रूपमा अदालतमा पेस गरेको थियो । ब्युरोले प्रमोद तस्करीको सुन किनबेचमा संग्लन रहेको आरोप लगाएको थियो । २०७४ जेठ ३० गते काठमाडौं जिल्ला अदालतमा सात लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका थिए ।
दुबईबाट पटक–पटक सुन ओसारें : टेकराज मल्ल
न्युरोडको पार्किङमा काम गर्दागर्दै म बेनु श्रेष्ठको सुन पसलमा कामदार भएँ । बेनु र चूडामणिबीच कुरा हुँदा चूडामणिले भाइ दुबई जाने हो भन्दै ‘१०–१५ दिन दुबई बसेर फर्किने हो, राम्रो काम छ । कमाइ राम्रो हुन्छ’ भन्ने आस देखाए । त्यसको तीन महिनापछि म पासपोर्ट बनाएर दुबई गएँ । फर्किंदा शिवानी खरेल नामकी केटीले ४ केजी सुन भएको झोला दिइन् । उनले विमानभित्र के गर्ने, के नगर्ने भनेर सिकाइन् । मैले सुन ल्याएर एयरपोर्टमा आएपछि उक्त झोला सानु बन (विमानस्थलमा कार्यरत कर्मचारी) लाई दिएँ । सोही दिउँसो बेनुले मलाई ६० हजार रुपैयाँ दियो । त्यसको तीन दिनपछि पनि म दुबई गएँ । फर्किने बेलामा चूडामणिले ५ केजी सुनसहितको झोला दिएर एयरपोर्टमा ल्याएर छोडिदिए । उक्त सुन पनि मैले सानु बनलाई नै दिएँ । त्यसपछि पनि कहिले ७ केजी, कहिले ८ केजी सुन ल्याइदिएँ । एकचोटि सबैभन्दा धेरै १६ केजी सुन ल्याइदिएँ । पछिल्लो पटक गत माघ ९ गते म र रोहित आचार्य दुबईबाट ल्याएको ३३ केजी सुन सधैं झैं एयरपोर्टमा ल्याएर सानु बनको जिम्मा लगाएर घर गएका थियौं । (बयानको सम्पादित अंश)
यसरी सुनको कारोबार गथ्र्यौं : भुजुङ गुरुङ
२०४० सालतिर नै म थाई एयरमार्फत सुन ल्याएर काठमाडौंका सुन पसलमा बेच्ने काम गर्थें । २०६९ देखि म चुणामणि उप्रेतीसँग जोडिएँ । मोहन अग्रवाल, छिरिङ वाङ्गेल लगायत साथी मिलेर सुन तस्करीको योजना बनायौं । मैले गोपालकुमार श्रेष्ठसँग सल्लाह गर्दा उनले प्लेनको टाइलेटको फोहोर फाल्ने डस्टबिनमा सुन लुकाउने, थाई एयरवेजमा सरसफाइको काम गर्ने कर्मचारीमार्फत बाहिर निकाल्न सकिने र विमानको ग्यारेजमार्फत विमानस्थलबाहिर निकाल्न सकिने योजना बन्यो । सुन तस्करी गर्ने क्रममा मोहनकुमार अग्रवाल र उनका तीन दाजुभाइ, पवन अग्रवाल, दरबारमार्गका सुन पसले राजेन्द्र शाक्य पनि कारोबारमा संलग्न थिए ।
मोहनकुमार अग्रवालले सुन किन्ने पैसाको व्यवस्था गर्थे । हामीले बैंकक र दुबईमा रहेका नेपालीका आफन्तलाई नेपालमै रकम दिन्थ्यौं र उक्त पैसाको शोधभर्ना उता संकलन गथ्र्यौं । यसरी जम्मा गरेको पैसा सुन किन्न खर्च गथ्र्यौं । प्रत्येक पटकको सुन तस्करीबापत मैले ४० हजार पाउँथेँ जसबाट प्रतिकिलो ५ हजारका दरले मैले राखेर बाँकी रकम गोपालकुमार श्रेष्ठलाई दिने गरेको थिएँ । प्रत्येक महिना ४ देखि १० पटकसम्म सुन तस्करी गथ्र्यौं ।
(बयानको सम्पादित अंश)
यसरी सुन काठमाडौंबाट अन्त पुर्याउँथेँ : कृष्ण भन्ने नरेन्द्र कार्की
उर्लाबारीतिर ट्याक्सी चलाउने काम गर्थें । २०७२ मंसिरतिर चूडामणि उप्रेतीसँग चिनजान भयो । उनले सुन ओसार्ने काम गर, सुरुमा महिनाको ४० हजार दिन्छु, सुन पूर्वतिर पुर्याएपछि एक पटकको २५ हजार दिन्छु भनेपछि मैले काम थालेँ । एक पटक उप्रेतीले चार केजी सुन गाडीको ढोकाको चेपमा राखिदिए । उनले भनेअनुसार मैले धरान पुगेर उक्त सुन सुनील अग्रवाललाई जिम्मा दिएँ । विभिन्न पटक उप्रेतीले भनेबमोजिम सुन पुर्याउन पूर्वका विभिन्न ठाउँ पुग्थेँ । सुन हराएपछि सनम शाक्य, मोहन काफ्लेसहित मलाई पनि विभिन्न पटक अनेक ठाउँ पुर्याएर कुटपिट गरियो । शाक्यको हत्याअघि हामी तीनै जनालाई रूखमा बाँधेर कुटपिट गरिएको थियो ।
(गाडीचालक नरेन्द्रको बयानको सम्पादित अंश)
यसरी बाहिर पठाउँथ्यौं : राजन थापा
२०७४ वैशाख–जेठतिरको कुरा हो । विमानस्थलमा मसँगै काम गर्ने कर्मचारी प्रेमलाल चौधरी र राजु महर्जनको थाई एयरलाइन्समा काम गर्ने सानु बनसँग कुरा भएको रहेछ । प्रेमलालाले फ्लाई दुबईको जहाजबाट प्यासेन्जरले सुन लिएर आउन र सो सुन राजु महर्जनले गाडीमा हालेर ल्याएपछि तपाईं र म भएर लानुपर्छ भने । उनले त्यसबापत ५० हजार दिन्छु भनेपछि मैले सहमति जनाएँ । प्रेमलाल र राजुले मलाई एक दिन एअरपोर्ट बाहिरको होटलमा लगेर चूडामणि उप्रेतीसँग चिनजान गराए । त्यसपछि मैले काम सुरु गरेँ । ०७४ जेठ २०/२१ गतेतिर प्रेमले राति १८:३० बजेको समयका दुबईबाट आउने जहाजमा सुन आउँदै छ, तपाईंले भनेअनुसार गर्नु भने । विमान ल्यान्ड भएपछि उक्त विमानमा आएको प्यासेन्जरलाई राजु महर्जनले नेपाल एयरलाइन्सको बसमा लिएर ह्यांगरतिर गए । त्यतिबेला सल्लाहअनुसार म र प्रेम ह्यांगरमा कुरेर बसेका थियौं । राजुले बस हामी भएको ठाउँमा ल्याए । सानो प्लास्टिकको झोला दिए । उक्त झोलामा एक केजीका तीन पिस सुन थिए । मैले सुनका पिस प्लास्टिकबाट निकालेँ र कम्मरको भागमा लुकाएँ । हामी डोमेस्टिक गेट नजिक आयौं । प्रेमले खै कसलाई हो फोन गरे । त्यसपछि प्रेमले भनेअनुसारको सेन्ट्रो गाडीमा सुन राखेर हामी अफिस फर्कियौं । (बयानको सम्पादित अंश)
को थिए मृतक शाक्य ?
अदालतमा पेस गरिएको अभियोगपत्रमा मृतक सनम शाक्यका दाइ सञ्जीप शाक्यको पनि बयान समेटिएको छ । सञ्जीपले आफ्नो भाइ तीन वर्षअघि गोरे भन्ने चूडामणि उप्रेतीसँग काम गर्छु भनेर काठमाडौं गएर बसेको बताएका छन् । सुन हराएपछि गोरेले बारम्बार सनमलाई फोन गरेर परिवारलाई नै सखाप पारिदिने धम्की दिएको अभियोगपत्रमा उल्लेख छ । उप्रेतीले फोन गरी १० मिनेटभित्र मलाई भेट्न आइज, नत्र जे पनि हुन सक्छ भन्दै धम्की दिएको कुरा पनि अभियोगपत्रमा उल्लेख छ । प्रतिवादीहरूले बयानका क्रममा सनमले काठमाडौंमा बसी तस्करीको सुनसम्बन्धी हिसाबकिताबको काम गर्ने गरेको बताएका छन् । सुन हराएसँगै आफ्नो समूहसँग सल्लाह नगरी हिँडेको भन्दै सनममाथि गोरेले शंका गरेको देखिन्छ । सुन पत्ता लगाउने क्रममा गोरेको समूहले विभिन्न समयक्रममा समूहका सदस्यलाई यातना दिने र कुरा बकाउने नीति अख्तियार गरेको थियो । यातना दिने क्रममा १४ फागुनमा सनमको मृत्यु भएको थियो ।
को हुन् गोरे ?
संगठित सुन तस्करीका मुख्य नाइके भनिए पनि गोरे नामले चिनिने चूडामणि उप्रेती तस्करीको सुनका मुख्य व्यवस्थापक देखिन्छन् । तस्करीको सुनमा उनको कति लगानी थियो भन्ने खुलेको छैन । अदालतमा पेस गरिएका प्रतिवादीहरूको बयानमा पनि दुबईबाट काठमाडौं सुन ल्याउने र त्यसलाई विभिन्न ठाउँमा पुर्याउने कामको मुख्य जिम्मेवारी गोरेले लिएको पाइन्छ । तस्करीबाट प्राप्त कमाइ उनले जग्गामा लगानी गर्न खोजेको पनि प्रतिवादीहरूको बयानले देखाउँछ । गोरेको समूहमा रहेकाहरूलाई टिकट काटिदिने र यात्राको व्यवस्थापन गरिदिने काममा संलग्न माधव भन्ने मदनप्रसाद घिमिरेले बयानका क्रममा गोरेले ५ महिनाअघि मोरङको मधुमल्ला र झापाको दमकमा जग्गा किन्न बैना दिएको बताएका छन् ।
गोरेले तस्करीको संगठित सञ्जालको विस्तारमा प्रहरीका उच्च अधिकारीका अलावा आफ्नै पत्नी, भाइ, भाइबुहारी, बाबुलाई समेत उपयोग गरेका छन् । चलाख गोरेले विमानस्थलका कर्मचारीलाई मनग्गे पैसाको लोभ देखाएर तस्करीको सुन ओसारपसारमा प्रयोग गराएको देखिन्छ । लामो समय दुबई बसेर फर्केका उप्रेतीले नै प्रहरीका उपल्ला अधिकारी र विमानस्थलका कर्मचारीलाई हातमा लिएर संगठित सुन तस्करीको र्याकेट चलाएको देखिन्छ । उनको प्रत्यक्ष निर्देशनमा भएको तस्करीको सुन काठमाडौंका र पूर्वी जिल्लाका केही सुन पसलेले खरिद गर्ने र ठूलो परिमाणमा उक्त सुन भारतीय बजारमा पुर्याउने गरेको देखिन्छ । बेलाबखत प्रहरीका निम्ति तस्करीको सुनसम्बन्धी सुराकीको भूमिकामा देखिने गोरेले उच्चपदस्थ प्रहरी अधिकारीसँग निकटको सम्बन्ध विस्तार गरेका थिए । त्यसलाई उनले सुन तस्करीमा प्रयोग गर्ने गरेका थिए ।
कसरी हरायो सुन ?
अभियोगपत्रमा प्रतिवादीहरूले दिएको बयानका आधारमा विमानस्थलबाट सानु बनले जिम्मा लिएको सुन गन्तव्यमा नपुग्दै हराएको तथ्य खुलेको छ । गत माघ ९ गते टेकराज मल्लले दुबईबाट ल्याएको सुन सानु बनलाई बुझाउँछन् । सोही दिन बेलुका सानुले सुन बाटैबाट लुटिएको भन्दै भविन राईलाई जानकारी गराउँछन् । उक्त कुरा सुनेपछि टेकराज, भविन राई, लाक्पा शेर्पा, टुकबहादुर मगर भेट गर्छन् र सुन हराएको कुरा भारतमा रहेका चूडामणिलाई जानकारी गराउँछन् । चूडामणिको निर्देशनपश्चात चारै जना बा७च ६१३४ र बा१२च ५९६३ नम्बरको गाडी लिएर सुन खोज्न विमानस्थलका कर्मचारी सानु बन, तक्ले र एलबी मगरलाई बोलाएर सोधपुछ गर्छन् । उनीहरूले दुई मोटरसाइकलमा हेल्मेट लगाएर आएका चार अपरिचितले अनामनगरबाट सुन लुटेको बताउँछन् । यसरी हराएको सुन खोज्ने क्रममा गिरोहमा संलग्न व्यक्तिलाई भारत र नेपालका विभिन्न जिल्लामा पुर्याएर कुटपिट गर्दै र यातना दिँदै सूचना फुत्काउने प्रयास गरिएको देखिन्छ ।
अध्यागमन शंकाको घेरामा
विमानस्थलमा रहेको अध्यागमन विभागले सामान्य हैसियतका व्यक्ति बारम्बार छोटो अवधिका निम्ति दुबई जाने र फर्किने गर्दासमेत सामान्य शंकाको घेरामा राखेको देखिँदैन । जस्तो कि गोरेका सहयोगी टेकराज मल्लले आफू हप्ता–पन्ध्र दिनको फरकमा दुबई आउनेजाने गरेको बताएका छन् । कतिसम्म भने मल्ल काठमाडौं फर्केको तीन दिनपछि नै पुन: दुबई गएका छन् र १५ दिनपछि फर्केलगत्तै फेरि दुबई पुगेका देखिन्छन् । यस्तै प्रवृत्ति अघिल्लो ३३ किलो ५ सय ग्राम संगठित सुन तस्करीको घटनामा पनि देखिएको थियो । अनुसन्धानमा ब्युरोले विष्णुप्रसाद सुवेदी र सन्तोष काफ्लेलाई शंकाको घेरामा राखेको थियो । १७ महिनाको अवधिमा काफ्ले १९ पटक र सुवेदी १ सय ८ पटक काठमाडौं–दुबई आउजाउ गरेको तथ्य अनुसन्धानमा खुलेको छ । उक्त घटनामा काफ्ले पक्राउ परे भने सुवेदी फरार छन् ।
यसरी ओसाथ्र्यौं : मोहन काफ्ले
म सुरुमा १५ दिनजति चूडामणि उप्रेतीको सवारी चालक भएर काम गरें । पछि उनले एयरपोर्टको काम हेर भनेर जिम्मा लगाइदिए । सुन ल्याउने व्यक्ति एयरपोर्टको भित्री गेटबाट बाहिर निस्केपछि चूडामणिले सुन ल्याउने व्यक्तिको फोटो र हुलिया मोबाइलमा पठाइदिन्थे । म र भोजराज भण्डारीले सोही आधारमा कालो झोलामा सुन बोकेर बाहिरिने मान्छेबाट सुन बुझेर ट्याक्सीमा राखी भित्री गेटबाट बाहिर निकाल्थ्यौं । अनि चूडामणिले सुन ल्याउनेलाई दिने भनेको रकम थमाइदिन्थ्यौं । त्यहाँबाट हामी गौशालातिर जान्थ्यौं । चूडामणि र सनम शाक्य पशुपति भिजनअघि प्राइभेट गाडीमा हामीलाई कुरिबसेका हुन्थे । हामी ट्याक्सीबाट उत्रेर सुनको झोलासहित अर्को गाडीमा चढेर मित्रपार्कको ओरालोसम्म पुग्थ्यौं । त्यसपछि उनीहरू गाडीबाट उत्रेर कता लाग्थे, थाहा भएन । हामी भने सुनसहित भोजराजको कोठामा पुग्थ्यौं, चाइनिज क्यासेटभित्र भएको सुन निकाल्थ्यौं । सो सुनबारे चूडामणिलाई जानकारी गराएपछि उनीहरूले आधा सुन लगेर बानेश्वरस्थित प्रमोद श्रेष्ठको घरमा बुझाउँथे । बाँकी सुन म, भोजराज र चूडामणिले दरबार दोहोरीमा लगेर हरि खड्काको
मान्छे रामहरि कार्कीलाई बुझाउँथ्यौं । (बयानको सम्पादित अंश)

![कान्तिपुर दैनिक [Kantipur Daily]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/kantipur.png)















































