You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

मेडिकल कलेज प्रदेशपिच्छे

प्रदेश १ र ३ बाहेक कुनैमा सरकारी चिकित्सा शिक्षा पुग्न सकेको छैन
- मकर श्रेष्ठ

सरकार र डा. गोविन्द केसीबीच बिहीबार भएको सहमतिले राजधानीबाहिर स्वास्थ्य शिक्षाको पहुँचलाई निश्चित गरेको छ । सहमतिपत्रको पहिलो बुँदाको २२ औं नम्बरमा भनिएको छ, ‘कुनै पनि सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा सरकारले यो ऐन प्रारम्भ भएको ५ वर्षभित्र कम्तीमा एउटा सार्वजनिक मेडिकल कलेज सञ्चालन गर्नुपर्नेछ ।’


विधेयकमा गरिएको संशोधन इमानदारपूर्वक संसद्मा पास भए प्रदेशैपिच्छे सरकारी मेडिकल कलेज हुनेछन् । हालसम्म प्रदेश २ र ७ मा कुनै सरकारी मेडिकल कलेज वा प्रतिष्ठान छैनन् । प्रदेश २ मा मेडिकल कलेज स्थापना गर्न महोत्तरीको बर्दिबासमा जग्गा पहिचान भइसकेको सम्झौतमा उल्लेख छ । ‘जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ,’ सहमतिपत्रको बुँदा ७ मा भनिएको छ, ‘आवश्यक विधेयक तर्जुमा गर्न कानुन र अर्थ मन्त्रालयसँग सहमतिका लागि पठाइसकिएको छ ।’


प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । प्रदेश ३ मा सबैभन्दा बढी सरकारी मेडिकल कलेज छन् । त्रिवि शिक्षण अस्पताल, नेपाल सैनिक स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं स्कुल अफ मेडिकल साइन्स धुलिखेल छन् । त्यस्तै प्रदेश ४ मा पोखरा र ५ को दाङमा प्रतिष्ठान स्थापना भए पनि शैक्षिक कार्यक्रम सुरु हुन सकेको छैन । कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहे पनि एमबीबीएसको कार्यक्रम सुरु भएको छैन । कर्णालीमा एमबीबीएस पढाइ हुनुपर्ने माग राखेर केसीले १८ औं दिनसम्म जुम्लामा अनशन बसेका थिए ।


सरकार र केसीबीच भएको सहमतिअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत स्नातक तहको विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउन संघीय सरकार, कर्णाली सरकार, प्रतिष्ठान र सुर्खेत अञ्चल अस्पतालका प्रतिनिधि एवं दुई विज्ञसहितको कार्यदल गठन हुँदै छ । कार्यदलको सुझावका आधारमा एमबीबीएसलगायत स्नातक तहको कार्यक्रम चाँडै सञ्चालन हुनेछ । प्रदेश ७ को धनगढीमा गेटा मेडिकल कलेज सुरु गर्ने भनिए पनि पूर्वाधार निर्माणमा आलटाल भइरहेको छ । प्रतिष्ठानलाई व्यवस्थित बनाउन दुई महिनाभित्र एकीकृत विधेयक ल्याइनेछ ।


सरकारले पाँचथर–इलाम, डडेलधुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन १ महिनाभित्र सुरु गरिसक्ने केसीसँग सम्झौता गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन डा. जगदीश अग्रवालले सहमति इमानदारीपूर्वक कार्यान्वयन र व्यवस्थापन गर्ने हो भने हरेक नेपालीले घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताए । ‘अनि, विशेषज्ञ सेवा लिन गाउँदेखि खर्चेर काठमाडौं आउने बाध्यता हट्नेछ,’ उनले भने, ‘सातै प्रदेशमा पाँच वर्षमा मेडिकल कलेज खोल्न एक वर्षभित्र विशेषज्ञ सेवासहितको अस्पताल सुचारु गरिहाल्नुपर्छ । मेडिकल कलेज खोल्न अस्पताल पूर्ण रूपमा तीन वर्ष सञ्चालन हुनुपर्ने व्यवस्था निजीलाई मात्रै होइन । सबैलाई लागू हुन्छ ।’
त्यस्तै, सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले अब कम्तीमा सुगममा एक र दुर्गममा एक वर्ष काम गर्नैपर्ने भएको छ । सरकारले उच्च शिक्षा मात्रै नभई विद्यालय तहको चिकित्सा शिक्षालाई समेत सुधार गर्न अग्रसरता देखाएको छ । यसअघि सीटीईभीटीले प्रदान गर्ने तीनवर्षे डिप्लोमा र प्रमाणपत्र तहको स्वास्थ्य विषयलाई चिकित्सा शिक्षाको परिभाषामा समेटिने भएको छ । अब बन्ने कानुनमा चिकित्सा शिक्षा भन्नाले स्वास्थ्य पेसासम्बन्धी सबै विधा र तहका शिक्षा, हेल्थ प्रोफेसन एजुकेसनलाई समेत मानेको छ । केसी र सरकारबीचको सहमतिले सीटीईभीटीको सम्बन्धन, प्रवेश परीक्षा र अनुगमन पक्ष पारदर्शी हुने भएको छ ।


प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार र केसीबीच भएको सम्झौताले स्वास्थ्य शिक्षाको सही बाटो कोरेको भन्दै प्रशंसा गरेको छ । सम्झौताले चिकित्सा शिक्षा सुधार गर्न अब कसैले रोक्न नसक्ने कांग्रेसको ठहर छ । ‘चिकित्सा शिक्षा सुधारको बाटो सुरु भएको छ । जनताले पत्याएको लोकमतको बाटोबाट अब सरकार हिँड्न बाध्य भएको छ,’ शुक्रबारको संसद् बैठकमा बोल्दै कांग्रेस सांसद मीनेन्द्र रिजालले भने, ‘मौलिक हक पनि सुरक्षित गरेको छ । शिक्षा र स्वास्थ्यमा सरकार कसरी जाने बलियो आधार बनेको छ ।’ सांसद गगन थापाले पनि केसीले उठाएको मागमा समझदारी गरेकामा सरकारलाई धन्यवाद दिए ।


चिकित्सा शिक्षासम्बन्धी नीति निर्धारण उच्चस्तरीय कार्यदलका संयोजक केदारभक्त माथेमाले सहमतिले गुणस्तरीय चिकित्सा शिक्षा सुनिश्चित गरेको बताए । ‘काठमाडौं बाहिरका गरिब जनताको स्वास्थ्य उपचार र शिक्षाको पहुँच सुनिश्चितता गरेको छ,’ वार्ताका सहजकर्तासमेत रहेका उनले भने, ‘अहिले चिकित्सा शिक्षामा भएको लथालिङ्गलाई सहमतिअनुसार बन्ने कानुनले सम्हाल्नेछ ।’ सरकारले संसद्मा पेस गरेको कानुन बनेपछि पैसाका आधारमा चिकित्सा शिक्षा अध्ययन गर्नेभन्दा पनि मेरिटका आधारमा भर्ना लिइनेछ । शैक्षिक संस्थापिच्छे प्रवेश परीक्षा दिनुपर्ने बाध्यता हट्नेछ । ‘विश्वविद्यालयले पैसा आर्जन गर्न दबाबका आधारमा सम्बन्धन दिने कार्य अब बन्द हुने भयो,’ माथेमाले भने ।


निजी कलेज खोल्न गाह्रो काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले मात्रै एमबीबीएस अध्ययन गराउन सम्बन्धन दिने गरेका छन् । यी दुई विश्वविद्यालयमध्ये त्रिविले डेन्टलसहित ९ र केयूले विस्तारितसहित १० वटालाई सम्बन्धन दिइसकेका छन् ।


पूर्वाञ्चल, पोखरा, सुदूर, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका आफ्ना शिक्षण अस्पताल छैनन् । यी विश्वविद्यालयबाट मेडिकल विषयको पढाइ सुरु गरेपछि मात्रै अरूलाई सम्बन्धन दिन सकिन्छ । सरकार र केसीबीचको सहमतिअनुसार विश्वविद्यालयले आंगिक कार्यक्रम सञ्चालन नभएसम्म अरूलाई सम्बन्धन दिन नसक्ने गरी कानुन बन्दैछ । यो व्यवस्थाले उपत्यकाबाहिर पनि निजी मेडिकल कलेज खोल्न नमिल्ने भएको छ ।


नयाँ सम्बन्धन दिन धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताललाई विश्वविद्यालय बनाउन सकिने प्रस्तावसमेत आएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक परिषदको २०७१ भदौ ३० को ३६ औं सभाले ऐन संशोधन गरी विश्वविद्यालय सञ्चालन गर्न नीतिगत स्वीकृत प्रदान गरिसकेको छ । अस्पताल सञ्चालन सम्बन्धमा स्वीकृत लिई तीन वर्षसम्म आफ्नै अस्पताल पूर्ण रूपमा सञ्चालन नगरेसम्म मेडिकल कलेज सञ्चालन गर्न पाइँदैन । राजधानीलगायत बाहिर जिल्लाका ठूला अस्पताल र मेडिकल कलेज स्वास्थ्य मन्त्रालयबाट अनुमतिबिना सञ्चालन भइरहेका छन् ।


सार्वजनिक संस्थामा ७५ प्रतिशत छात्रवृत्ति सरकारले सार्वजनिक शिक्षण संस्थाले स्नातक स्तरको कार्यक्रममा उपलब्ध गराएको सिट संख्याको कम्तीमा ७५ प्रतिशत नि:शुल्क छात्रवृत्तिमा छुट्याउनुपर्ने भएको छ । कानुन बनेसँगै गठन हुने राष्ट्रिय चिकित्सा शिक्षा आयोगको परामर्शमा छात्रवृत्तिको सिट क्रमश: वृद्धि गर्दै लैजाने गरी केसी र सरकारबीच सहमति भएको छ । सरकारले संसद्मा दर्ता गरेको चिकित्सा शिक्षा विधेयकअनुसार सार्वजनिक शिक्षण संस्था भन्नाले सरकारी, सामुदायिक वा सार्वजनिक सम्पत्तिको प्रयोग गरी स्थापना भएका सरकारी, सार्वजनिक गुठी वा अन्य शिक्षण संस्था सम्झनुपर्ने उल्लेख छ ।


यो व्यवस्थाअनुसार महाराजगन्ज मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं स्कुल अफ मेडिकल साइन्स, धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ । देवदह र विराट मेडिकल कलेजले काठमाडौं विश्वविद्यालयका विस्तारित कार्यक्रम सञ्चालन गरेकाले छात्रवृत्ति दिनुपर्ने हुनसक्छ ।


स्नातकोत्तर नि:शुल्क
कानुन बनेपछि नेपाली विद्यार्थीले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको जुनसुकै विषय नि:शुल्क अध्ययन गर्न पाउनेछन् । सरकारले शुक्रबार संसद्मा पेस गरेको विधेयकमा यो व्यवस्था नभए पनि संशोधन गरेर यो व्यवस्था ल्याउन केसीसँग सहमति गरेको हो । विधेयकमा संशोधन गर्नुपर्ने केसीको २२ बुँदेमध्ये १८ संशोधनमा भनिएको छ, ‘नेपाली विद्यार्थीको हकमा यो ऐन सुरु भएपछि चिकित्सा शिक्षा क्षेत्रको स्नातकोत्तर तहको अध्ययन सबै शिक्षण संस्थामा नि:शुल्क हुनेछ ।’


यो व्यवस्थाले महाराजगन्ज मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं स्कुल अफ मेडिकल साइन्स धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले नि:शुल्क स्नातकोत्तर तह पढाउनुपर्ने हुन्छ । नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं स्कुल अफ मेडिकल साइन्सबाहेक अन्यमा अहिले पनि नि:शुल्क अध्ययन सुविधा छ । त्यसबापत सरकारले एकमुष्ट अनुदान दिने गरेको छ ।

गृह पृष्ठ

भीरबाट बस खस्यो: ८ को मृत्यु, १७ घाइते

- कान्तिपुर संवाददाता

चितवन (कास)– इच्छाकामना गाउँपालिका–३ कुरिनटार, चुम्लिङटारमा शुक्रबार मध्याह्न ट्रकसँग जुधेर बस खस्दा आठ जनाको मृत्यु भएको छ । काठमाडौंबाट स्याङ्जा आउँदै गरेको ना६ख २५०६ नम्बर बस र मुग्लिनबाट जाँदै गरेको ना५ख ७४०९ नम्बर ट्रक ठोक्किएका हुन् ।


मृतक सबै बसका यात्रु छन् । शुक्रबार बेलुकीसम्म ६ जनाको मात्र सनाखत हुन सकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालले बताए । तिनमा तनहुँको भानु नगरपालिका–५ का २७ वर्षीय सुमित श्रेष्ठ, भन्सारकी २७ वर्षीया कमला श्रेष्ठ, केशवटारका ४० वर्षीय बाबुराम तिवारी, पाल्पाका बेगनास कालिका गाउँपालिकाका ३२ वर्षीय अर्जुन न्यौपाने, काठमाडौंकी ३० वर्षीया रविन गुरुङ र भारत बिहारका फिरोज मियाँ छन् । अन्दाजी १९ वर्षकी एक महिला र तीन वर्षका एक बालकको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । तीमध्ये ६ जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेज, चार जनाको मनकामना अस्पताल, पाँच जनाको पोखरा, एक जनाको काठमाडौं र अर्का एक जनाको धादिङ, मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


बस चालक स्याङ्जाका ५१ वर्षीय उदयराज लामिछाने पनि घाइते छन् । उनको चितवन कलेज अफ मेडिकल साइन्सेसको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्रक एक्कासि अगाडि आएपछि ब्रेक लगाउँदा दुर्घटना भएको लामिछानेले बताए । ‘बिहान ६ बजे काठमाडौंबाट हिँडेको हो । दुई घण्टाजति जाममा परियो । चुम्लिङटारमा आउँदा अचानक अगाडि ट्रक देखेर ब्रेक लगाएको थिएँ । त्यसपछि बस चिप्लिएको थाहा छ । अरू केही मेसो पाइनँ,’ उनले भने । दुर्घटनाका बेला वर्षा भइरहेको थियो । प्रहरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किएर बस त्रिशूलीछेउ खोँचमा खसेको थियो ।

गृह पृष्ठ

जोडिँदै जोगबनी–किमाथांका

दक्षिण सीमाको जोगबनीलाई उत्तरी नाकासँग सिधा जोड्न करिब ३४० किलोमिटर सडकमध्ये अब १४ किलोमिटर ट्रयाक खोल्न बाँकी
- माधव घिमिरे,दीपेन्द्र शाक्य

विराटनगर/संखुवासभा– १४ किलोमिटर ट्रयाक खोल्नेबित्तिकै बहुप्रतिक्षित जोगबनी–किमाथांका मार्ग जोडिँदै छ । चट्टानी पहरा भएको क्षेत्रमा ट्रयाक खोल्न बाँकी रहेकाले सडकले सोझै चीनको सीमा छुन भने केही महिना लाग्नेछ ।


संघीय सरकारले छिमेकी मुलुक भारत र चीनसमेत जोडिने यो सडकको मुख्य काम यसै आर्थिक वर्ष भित्र सक्ने घोषणा गरिसकेको छ । स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकार र संघीय सरकारले पनि उच्च महत्त्व दिएको यो सडक बनेपछि आर्थिक गतिविधि तीव्र रूपमा बढ्ने सरोकारवालाको बुझाइ छ ।


प्रदेश १ को मात्र होइन, मुलुककै समृद्धिमा महत्त्वपूर्ण मानिएको योजना हो, रानी–किमाथांका मार्ग । त्रिदेशीय व्यापारिक महत्त्वको यो सडक मोरङको रानीदेखि संखुवासभाको किमाथांकासम्म पुग्छ । दक्षिणी नाकालाई उत्तरी नाकासँग जोड्न करिब ३ सय ४० किलोमिटर सडकमध्ये अब १४ किलोमिटर ट्रयाक खोल्न मात्र बाँकी छ ।

 

मोरङबाट सुनसरी, धनकुटा र तेह्रथुम हुँदै संखुवासभाको सीमावर्ती गाउँसम्म सडक पुर्‍याउने लक्ष्य छ । संखुवासभा सदरमुकाम खाँदबारीसम्म कालोपत्रे भइसकेको छ । बीचका केही स्थानमा सडक बिग्रिए पनि त्यसलाई व्यवस्थित पार्ने काम भइरहेको छ । अरुण नदीको किनारैकिनार चीनको तिब्बती सहर रियुमा जोडिने उत्तर–दक्षिण मार्ग बनिसकेपछि चीन र भारतको व्यापारिक ‘ट्रान्जिट’ बन्नेछ नेपाल ।


सडक निर्माणले नेपालको व्यापार विस्तार मात्र हुनेछैन, उत्तर तथा दक्षिण सीमाबाट चीन र भारतका प्रमुख व्यापारिक सहर पनि छोटो दूरीबाट जोडिनेछन् । किमाथांकाबाट तिब्बती सहर ल्हासा र ठूलो व्यापारिक सहर सिगात्से पनि छोटो दूरीमा पर्ने भएकाले व्यापार विस्तारमा ठूलो सहयोग पुग्ने उद्योगीले बताउँदै आएका छन् । किमाथांका नाकाबाट चीनको व्यापारिक सहर सिगात्से करिब ३ सय किलोमिटर दूरीमा छ ।


किमाथांका सडकका कारण नेपालबाहेक अरू चार मुलुकसमेत प्रत्यक्ष/अप्रत्यक्ष जोडिन सक्नेछन् । अर्थशास्त्री प्राडा. पीके झा किमाथांका सडक बनेपछि विराटनगर चीन, भारत, भुटान र बंगलादेशबीच जोडिन सक्ने सम्भावना औंल्याउँछन् । ‘यो सम्भावनालाई साकार पार्न दलहरूले प्रयास केन्द्रित गर्नुपर्छ,’ उनी भन्छन्, ‘यसका लागि योजनाबद्ध र दीर्घकालीन गुरुयोजनाअनुसार काम गर्नु आवश्यक छ ।’


यो मार्गको दक्षिणी सीमा विराटनगरबाट भारतको कोलकाता नजिक पर्ने भएकाले पनि व्यापारिक महत्त्व बढ्नेछ । किमाथांका सडक निर्माणमा जोड दिँदै आएका उद्योगी–व्यवसायीले हालै त्यस क्षेत्रको अवलोकन भ्रमण गरे । उद्योग संगठनको अगुवाइमा गएको टोलीले निर्माणमा संलग्न प्रतिनिधि र स्थानीय जनप्रतिनिधिलगायतसँग भेटेर सडकको अवस्थाबारे जानकारी लिएका छन् ।


‘कुनै पनि नयाँ नाका जोडिनु हाम्रा लागि फाइदाजनक हो,’ मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा भन्छन्, ‘नाका खुलेपछि प्रदेश १ को मात्र होइन, सिंगो मुलुककै लागि यो सडक कोसेढुंगा बन्नेछ ।’ ट्रयाक खुलेर चीनको नाकासँग जोडिनासाथ व्यापारिक सम्भावनाका क्षेत्रबारे अध्ययन गर्ने तयारी भइरहेको उनले बताए ।


उक्त नाकाबाट ठूला उद्योका लागि कच्चापदार्थ ल्याउन सकिने र जडीबुटीलगायत स्थानीय वस्तु निर्यात गर्न सकिने सारडाको भनाइ छ । ‘ट्रयाक खुलेपछि साना सवारीसाधन सञ्चालन भएर दुई देशका नागरिकबीचको सम्बन्ध प्रगाढ हुनेछ,’ उनी भन्छन्, ‘व्यवस्थित हुन केही समय लाग्ला तर त्यसअघि व्यापारिक सम्भावनाको क्षेत्रबारे हामी सरकारसँग सल्लाह गर्नेर्छौं ।’


दुई धनी र विकसित मुलुक यो सडकमार्गबाट जोडिने भएकाले नेपालले पनि यसबाट फाइदा लिन सक्ने धेरै सम्भावना भएको उनको बुझाइ छ । संघीय सरकारले यो योजनालाई प्राथमिकतामा राख्दै आएको छ । आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडाले किमाथांका–रानी सडकको मुख्य काम यसै वर्षभित्र सकिने उल्लेख गरेका थिए ।


पछिल्लो पटक संखुवासभा सदरमुकाम खाँदबारीबाट १ सय ३३ किलोमिटर कच्ची सडक बनिसकेको छ । अब करिब १४ किलोमिटर सडक खोलिसक्दा किमाथांका जोडिन्छ । खाँदबारीबाट भोटखोलाको दुर्गम मानिएको हटिया गाउँ जोडिसकेको छ ।


उत्तर–दक्षिण कोसी सडक योजनाका प्रमुख पशुपति ज्ञवालीका अनुसार ट्रयाक खोल्न बाँकी स्थानमा चट्टान र पहरा भएकाले विस्फोटक पदार्थ प्रयोग गरी खोल्नुपर्ने अवस्था छ । चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा विस्फोट प्रयोग गरी १४ किलोमिटर छिचोलेपछि रानीदेखि किमाथांका स्थलमार्गबाट जोडिन्छ । ‘विस्फोटक पदार्थ खरिद गर्न प्रक्रिया अघि बढाइसकेका छौं,’ ज्ञवाली भन्छन्, ‘सकेसम्म चाँडो सडक जोड्ने लक्ष्य छ ।’


योजना कार्यालयका अनुसार सडक बनिसकेकाले हिँउदमा खाँदबारीबाट हटियासम्म यातायातका साधन चल्न सक्छन् । यो सडकको माथिल्लो खण्डमा स्वच्छन्द, याक्थुम्हाङ र पुष्पाञ्जली जेभी कम्पनीले काम गरिरहेका छन् ।


यस्तै ट्रयाक खोल्ने काममा हटिया–चेपुवा खण्डमा गजुरमुखी, मोतीदान, गीताञ्जली जेभी र कञ्चनजंघा जेभीले काम गरिरहेका छन् । किमाथांकातर्फबाट पनि ट्रयाक खोल्ने काम भइरहेको छ । १ सय ६२ किलोमिटर दूरीको खाँदबारी–किमाथांका सडकको उत्तरतर्फबाट १४ किलोमिटर सडक बनिसकेको योजना कार्यालयले जनाएको छ ।


बीचबीचमा रेखांकन विवाद र धार्मिकस्थल भएकाले विवाद देखिए पनि योजनाका तर्फबाट त्यसलाई समाधान गरी निर्माणको काम अघि बढाइएको ज्ञवालीले बताए । खाँदबारी र संखुवासभाबीचको चेपुवा, छुमसुर घोङगोप्पा खण्ड निर्माण भएपछि किमाथांका पुगिने उल्लेख गर्दै उनले तीव्र गतिमा काम गरेर यसै वर्ष किमाथांका जोड्ने प्रयास भइरहेको
जानकारी दिए ।


चीन सीमासम्म सडक जोडिन लागेपछि स्थानीय बासिन्दा र जनप्रतिनिधि पनि उत्साहित छन् । भोटखोला गाउँपालिका–३ का वडाध्यक्ष आन्दी भोटेले हटियासम्म सडक पुगेपछि सुविधा भएको बताए । ‘अब खाँदबारी–किमाथांका जोडिन लागेको छ,’ उनी उत्साहित देखिए, ‘यसले हामीलाई धेरै फाइदा हुने विश्वास छ ।’

Page 2
समाचार

को–को पर्ने भए कारबाहीमा ?

- कृष्ण ज्ञवाली

सरकारले ‘चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्‍याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने’ डा. केसीसँग सहमति गरेको छ । आमरण अनसनका क्रममा केसीले मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारणमा भएको अनियमिततामा दोषी ठहरिएकालाई कारबाही गर्नुपर्ने चौथो बुँदामा माग राखेका थिए ।


आयोगले छानबिन क्रममा विभिन्न अभिलेखको अध्ययन, स्थलगत निरीक्षण, छलफल, अन्तक्र्रिया र सम्बन्धित क्षेत्रका विज्ञको परामर्श लिएको थियो । साथै चिकित्सा शिक्षाका क्षेत्रमा सुझावसमेत दिएको छ । मेडिकल शिक्षामा विभिन्न अनियमितता भएको भन्दै विसंगतिविरुद्ध अनशन बसेका केसीसँग गरेको सम्झौताअनुसार सरकारले २०७४ वैशाख ४ गते राजपत्रमा सूचना निकाली चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा डा. उपेन्द्र देवकोटा सदस्य थिए भने शिक्षा मन्त्रालयकै सहसचिव सूर्यमणि गौतम सदस्य सचिव थिए ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको विवरणअनुसार प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँ, रजिस्ट्रार डिल्ली उप्रेती, रेक्टर सुधा त्रिपाठीलाई तत्काल बर्खास्तको सिफारिस छ । कानुनका डिन तारा सापकोटालाई सर्वोच्च अदालतको फैसलाको गलत व्याख्या गरी सम्बन्धनको सिफारिस गरेको ठहरसहित त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद् सदस्य र डिनबाट समेत हटाउन सिफारिस गरेको थियो ।


कांग्रेसको सिफारिसमा त्रिवि उपकुलपति बनेका डा. खनियाँ पछिल्लो निर्वाचनमा वाम गठबन्धनको बहुमत आएपछि नेकपासँग निकट हुन प्रयासरत छन् । उपकुलपति खनियाँले डा. केसीको क्रियाकलाप त्रिवि ऐन र नियमविपरीत भएको भन्दै प्रतिशोधस्वरूप उनलाई स्पष्टीकरण र कारबाहीको तयारीमा थिए । आयोगको छानबिन टुंगिएपछि पदाधिकारीहरू आफैं कारबाहीको सिफारिसमा परेका छन् । उनी पछिल्लो समय त्रिविको पछिल्लो दीक्षान्त समारोहमा भाषण सारेको आरोपमा विवादमा मुछिएका छन् ।


छानबिनका क्रममा त्रिवि पदाधिकारीहरूपछि कानुन डिन सापकोटाको सबैभन्दा विवादास्पद भूमिका देखिएको थियो । पदावधि सकिएका कारण उनी कार्यकारी परिषद्बाट भने हटिसकेका छन् । जाँचबुझ आयोगले विभिन्न मेडिकल कलेजको सम्बन्धनमा अनियमितता गरेको ठहरसहित उनीहरूलाई बर्खास्तको सिफारिस गरेको थियो । विज्ञानका डिन रामप्रसाद खतिवडा र दुई प्राध्यापकहरू राजेन्द्र पौडेल तथा हरि पराजुलीलाई समेत कार्यकारी परिषद् सदस्यबाट हटाई कारबाहीको सिफारिस भएको थियो ।


गत वर्षको साउन १२ गतेको त्रिवि कार्यकारी परिषदको बैठक बसेको थियो । बैठक सुरु हुनासाथ रेक्टर सुधा त्रिपाठीले एकाएक काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने ठाडो प्रस्ताव गरेकी थिइन् । गोप्य रूपमा ६ सदस्यहरूलाई एजेन्डा जानकारी गराएर बैठक डाकिएको थियो । कानुनी सल्लाहकारको कार्यालयको रायबिना नै डिन सापकोटाले अत्यन्त विवादास्पद ढंगले सम्बन्धनको निर्णय लिएका थिए । सर्वोच्च अदालतको फैसलाका कारण सम्बन्धन दिन बाध्य भएको दाबी गरे पनि पदाधिकारीहरूले उक्त फैसलाको गलत व्याख्या गरेका थिए । निर्णयको राय लेख्न कानुनका डिन तारा सापकोटाले सघाएका थिए, तर उनी कानुनी सल्लाह दिने आधिकारिक व्यक्ति भने होइनन् ।
काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन प्रकरणमा डा. अनिलकुमार झा, शशी शर्मा, सरोज श्रेष्ठ, डा. करविरनाथ योगी लगायतलाई कारबाहीको सिफारिस छ । आयोगको छडके निरीक्षणमा परेका डा. अकुर साहलाई पनि कारबाहीको सिफारिस भएको छ । काठमाडौं नेसनलको निरीक्षणमा जोडिएका योगीसहित प्रा.डा.ज्योति शर्मा, डा. अनिल झा, प्रा.डा. केशवप्रसाद सिंह, प्रा.डा. प्रमोदकुमार श्रेष्ठ, प्रा.डा. परशुराम मिश्र, प्रा.डा. रामप्रसाद उप्रेती र प्रह्लाद पन्तलाई पनि कारबाहीको सिफारिस छ । मौखिक कानुनी सल्लाह मात्रै दिएको आरोपमा त्रिविका कानुनी सल्लाहकार नारायण खनाललाई समेत कारबाही सिफारिस थियो ।


काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षा र नेपाल मेडिकल काउन्सिलको कार्यक्षेत्रमा हस्तक्षेप गरेको आरोपमा अख्तियारका विवादास्पद पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी सिफारिस गरिएको छ । काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजूलाई सचेत गराउन सिफारिस छ ।


त्रिविका पूर्वउपकुलपति हीराबहादुर महर्जन भविष्यमा सरकारी पदका लागि अयोग्य भनी सिफारिसमा परेका छन् । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.बीपी दास (बलभद्र दास) लाई भविष्यमा कुनै पनि सरकारी र अर्धसरकारी नियुक्ति मनोनयनमा निजलाई बन्देज लगाउनुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ । केयूका प्राध्यापक भागवत नेपालले जागिर छाडेकाले कारबाही नगरेको भन्ने उल्लेख छ ।


आयोगले मेडिकल काउन्सिलका तत्कालीन अध्यक्ष दामोदर गजुरेल, रजिस्ट्रार नीलमणि उपाध्यायलाई पनि कारबाहीको सिफारिस गरिएको छ । दोहोरो सुविधा लिएकाले उपाध्यायमाथि भ्रष्टाचारको आरोपमा समेत छानबिन गर्न सिफारिस छ । उनले पत्नी डाक्टर सरिता उपाध्यायलाई नियमविपरीत गण्डकी मेडिकल कलेजमा दबाबमा जागिर लगाएको उल्लेखसमेत छ । यो विवादमा डा. शशी शर्मासमेत जोडिएका थिए । उपाध्यायबारे आयोगको प्रतिवेदनमा भनिएको छ, ‘निजलाई पेसागत चिकित्सासम्बन्धी काम गर्नबाहेक कुनै पनि सरकारी र अर्धसरकारी निकायमा भविष्यमा लाभको पदमा नियुक्ति गर्न अयोग्य देखिएकाले नियुक्ति नगर्ने ।’


जानकी मेडिकल कलेजको निरीक्षण विवादमा मुछिएका प्रा. भरत झा, प्रा.डा. गोविन्दप्रसाद शर्मा, प्रा.डा. त्रिलोकपति थापा, प्रा.डा. केबी राउत, डा. मनोहरप्रसाद गुप्ता, चन्द्रलाल श्रेष्ठ र हिरेन्द्रमान अमात्यलाई ५ वर्ष सरकारी सेवामा नियुक्त नगर्न सिफारिस गरिएको छ । त्यस्तै देवदह मेडिकल कलेज, रूपन्देहीको सम्बन्धनमा मुछिएका डा. सीडी चावला र प्रा. श्यामसुन्दर मल्ल तथा विराट मेडिकल कलेजको निरीक्षणमा जोडिएका डा. रमेशकुमार अधिकारी, डा. रोहित श्रेष्ठ र डा. ओजस्वी नेपाललाई पनि ५ वर्ष सरकारी नियुक्तिमा अयोग्य बनाउन सिफारिस छ ।


भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा.प्रकाशराज न्यौपाने र बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तत्कालीन कार्यकारी निर्देशक डा सी.बी. पुनले कानुन मिचेर सिफारिस गरी योग्य उम्मेदवारलाई मौकाबाट वञ्चित गरेकाले भविष्यमा सरकारी र अर्धसरकारी पदमा नियुक्ति गर्न प्रतिबन्ध लगाउनुपर्ने प्रतिवेदनमा भनिएको छ ।


सहमतिको बुँदा ४
चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्‍याएका पदाधिकारीहरूलाई आयोगको सिफारिसबमोजिम कारबाहीको प्रक्रिया २ महिनाभित्र सुरु गर्ने ।

 

दोषी ठहरिएकाहरू
१. तीर्थ खनियाँ– उपकुलपति, त्रिभुवन विश्वविद्यालय
२. डिल्ली उप्रेती– रजिस्ट्रार
३. सुधा त्रिपाठी– रेक्टर
४. तारा सापकोटा, डिन, कानुन संकाय (कार्यकारी परिषद्मा पदावधि सकिएको)
६. रामप्रसाद खतिवडा, डिन, विज्ञान संकाय (कार्यकारी परिषद् सदस्य)
७. राजेन्द्र पौडेल (प्राध्यापकका तर्फबाट कार्यकारी परिषद् सदस्य)
८. हरि पराजुली (प्राध्यापकका तर्फबाट कार्यकारी परिषद् सदस्य)
९. डा. अनिलकुमार झा
१०. डा. शशी शर्मा
११. डा. सरोज श्रेष्ठ
१२. डा. करविरनाथ योगी
१३. डा. अकुर साह
१४. प्रा.डा. ज्योति शर्मा
१५. प्रा.डा. केशवप्रसाद सिंह
१६. प्रा.डा. प्रमोदकुमार श्रेष्ठ
१७. प्रा.डा. परशुराम मिश्र
१८. प्रा.डा. रामप्रसाद उप्रेती
१९. प्रह्लाद पन्त
२०. नारायण खनाल
२१. लोकमानसिंह कार्की (भविष्यमा सरकारी सेवाका लागि अयोग्य)
२२. रामकण्ठ माकाजू (सचेत बनाउने)
२३. हीराबहादुर महर्जन, पूर्वउपकुलपति, त्रिवि (भविष्यमा सरकारी सेवाका लागि अयोग्य)
२४. डा. बीपी दास (बलभद्र दास), पूर्वउपकुलपति, बीपीकेएचएस (भविष्यमा सरकारी सेवा अयोग्य)
२५. भागवत नेपाल (जागिर छाडेकाले कारबाही सिफारिस नगरेको)
२६. दामोदर गजुरेल, पूर्वअध्यक्ष मेडिकल काउन्सिल
२७. नीलमणि उपाध्याय, पूर्वरजिस्ट्रार भ्रष्टाचारमा छानबिन
२८. प्रा. भरत झा
२९. प्रा.डा. गोविन्दप्रसाद शर्मा
३०. प्रा.डा. त्रिलोकपति थापा
३१. प्रा.डा. केबी राउत
३२. डा. मनोहरप्रसाद गुप्ता
३३. श्री चन्द्रलाल श्रेष्ठ
३४. श्री हिरेन्द्रमान अमात्य
३५. डा. सीडी चावला
३६. प्रा. श्यामसुन्दर मल्ल
३७. डा. रमेशकुमार अधिकारी
३८. डा. रोहित श्रेष्ठ,
३९. डा. ओजस्वी नेपाल
४०. डा. प्रकाशराज न्यौपाने
४१. डा. सीबी पुन
४२. पन्ना थापा

समाचार

चिकित्सा शिक्षा विधेयक पेस

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसद्मा पेस गरेको छ । अघिल्लो संसद्मा पेस भएको विधेयकमा सहमति जुट्न नसकेपछि निष्क्रिय भएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको संसद् बैठकमा विधेयक पेस गरेका हुन् । शिक्षा मन्त्रालयले संसद्मा दर्ता गराएको विधेयकमा राखिएको व्यवस्थाको विरोध गर्दै डा. गोविन्द केसी अनशन बसेपछि संसद्मा पेस हुन सकेको थिएन । सरकार र केसीबीच बिहीबार ९ बुँदे सहमति भएसँगै विधेयक पेस गर्न बाटो खुलेको हो । प्रमुख प्रतिपक्षी कांग्रेसले पनि केसीले उठाएका विषय सुनुवाइ नभएसम्म विधेयक पेस गर्न नदिने भन्दै विरोध जनाएको थियो । शुक्रबारको बैठकमा सांसदहरूले सरकार र केसीबीच भएको सम्झौतापत्र वितरण नगरेसम्म विधेयक पेस गर्न नदिने भन्दै संसद् केहीबेर अवरोध पनि गरेका थिए । सांसदहरूलाई सम्झौतापत्र वितरण गरिएपछि पुन: सदन सुचारु भएको थियो ।


सरकारले सदनमा दर्ता गरेको विधेयकको विरोधमा सांसद गगन थापा, सरिता गिरी र प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए । सरकारले केसीसँग सम्झौता गरेकाले थापा र गिरीले विरोधको सूचना फिर्ता लिए । सुवालले भने फिर्ता लिएनन् । उनको सूचना निर्णयार्थ पेस गर्दा बहुमतले अस्वीकृत भएको थियो ।

समाचार

जहाँ पढाइ हुँदैन

- अजित तिवारी

जनकपुर– स्थापनाको १५ वर्षमा २० पटक आन्दोलन । ७ पटक सञ्चालक परिवर्तन । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका यी दुई सन्दर्भले नै समग्र कलेजको अवस्था देखाउँछ । यो कलेजको अवस्था यतिसम्म भद्रगोल छ कि ७ पटक सञ्चालक फेरिए पनि कलेजको पढाइ, उपचार र भौतिक पूर्वाधार गएगुज्रेको अवस्थामा छ । शिक्षण अस्पतालमा अनिवार्य हुनुपर्ने सिटिस्क्यान, एमआरआई, आईसीयू र एनआईसीयूको सुविधा नै छैनन् ।


यसको मुख्य कारण नै चर्को भर्ना शुल्कमा सञ्चालकले आँखा गाड्नु नै रहेको भुक्तभोगी कर्मचारी र विद्यार्थीहरू बताउँछन् । मोटो भर्ना शुल्क असुलेपछि सञ्चालकहरू सम्पर्कविहीन भइदिन्छन् । अनि तनावचाहिँ एमबीबीएसका विद्यार्थीले भोग्छन् । राजनीतिक पहुँचको आडमा सञ्चालकहरू टसको मस नहुँदा महिनौंसम्म मेडिकल कलेज र शिक्षण अस्पताल ठप्प हुन्छ । लगानी असुल्न सञ्चालकहरूले भर्ना शुल्ककै पैसा तानतुन गर्दा कलेज आर्थिक रूपमा सधैं टाट पल्टिएको देखिन्छ । जसको असर डाक्टर–कर्मचारीमा पर्छ । उनीहरूले समयमा तलब पाउँदैनन् । अनि तलबका लागि थालिने आन्दोलनले एमबीबीएस विद्यार्थीको पढाइ रोकिन्छ ।


पछिल्लो प्रकरण नै हेरौं । १५ महिनाको तलब बाँकी, ६ वर्षदेखि सञ्चयकोषमा रकम दाखिला नगरेको र तलबबाट कट्टा गरिएको कर सरकारलाई नबुझाएको भन्दै कर्मचारीले वैशाख १० गतेदेखि आन्दोलन थाले । लगत्तै तत्कालीन प्रबन्ध निर्देशक राजेश थापा काठमाडौं गएर बसिदिए । असर उनै विद्यार्थीलाई पर्‍यो । कर्मचारीको आन्दोलन र सम्पर्कविहीन व्यवस्थापकका कारण एमबीबीएस ५ औं सेमेस्टरका विद्यार्थीको प्रयोगात्मक परीक्षा नै रोकियो । जेठ १९ देखि असार ३ गतेसम्म तोकिएको परीक्षा कलेजमा नयाँ व्यवस्थापक आएपछि बल्ल विद्यार्थीले असार अन्तिममा दिन पाए ।


कलेजका एक पूर्वलगानीकर्ताका अनुसार एमबीबीएस भर्ना शुल्कबाट धेरैजसो सञ्चालकले आफ्नो लगानीको अधिकांश रकम फिर्ता लिने र त्यसपछि व्यवस्थापनमा चासो नदेखाउँदा जानकी मेडिकल कलेजमा बर्सेनि विद्यार्थी र कर्मचारीले दु:ख पाइरहेका छन् । ‘सञ्चालकले जानकी मेडिकल कलेजलाई सधैं दुुहुनो गाईका रूपमा मात्र हेरे,’ ती पूर्वसञ्चालकले भने, ‘कलेज र अस्पतालमा लगानी थपेर राम्रो बनाउने सोच कसैको भएन ।’ कर्मचारी आन्दोलनले ३ वैशाखदेखि असारसम्म ठप्प रहेको कलेजको समस्या सुल्झाउन सातौं पटक असार १९ गते फेरि सञ्चालक फेरिएका हुन् ।


संस्थापक सञ्चालकमध्येका एक सर्लाहीका उपेन्द्रप्रसाद (ओपी) पाण्डेले कलेज एकल बनाएका छन् । ५० प्रतिशत सेयर रहेका पाण्डेलाई कलेजका यसअघिका सञ्चालकले करिब दुई सय करोड रुपैयाँ सबै सेयर बेचेका छन् । ‘कलेजमा अब मेरो एकल स्वामित्व छ,’ अध्यक्ष पाण्डेले कान्तिपुरसँग भने, ‘कलेजका सबै समस्या सुल्झिँदैछ, मेडिकल शिक्षामा चाँडै फडको मार्नेछ ।’ पाण्डेले आफू आएपछि कलेजमा पढाइ सुरु भएको, कर्मचारीको ८ महिनाको बक्यौता तलब भुक्तान गरेको र अस्पताल सुचारु भएको दाबी गरे ।


चिकित्सा शिक्षा सुधारका लागि अनशन बसेका डा. गोविन्द केसीसित सरकारले गरेको सहमतिको ७ औं बुँदामा ‘जानकी मेडिकल कलेजको पठनपाठन अविलम्ब बिनाअवरोध नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयमार्फत त्रिभुवन विश्वविद्यालयलाई तत्कालै निर्देशन दिने’ उल्लेख छ । ३ महिनादेखि पढाइ रोकिएको कलेजका विद्यार्थीले त्यस अवधिमा पढाइकै लागि प्रदेश सरकार हुँदै संघीय सरकारसम्मलाई गुहारेका थिए । विद्यार्थीले पढाइ सुचारु गर्न माग गर्दै प्रदेश २ को प्रदेशसभा सचिवालयसमेत घेराउ गरेका थिए । विद्यार्थीको परीक्षा नै रोकिएपछि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) टोली जेठ अन्तिम साता कलेजको अवस्था बुझ्न जनकपुर आएको थियो । आईओएमका केशव उप्रेती, रोहित पोखरेल र डा. ओम बरालको टोलीले कलेजका विद्यार्थी र कर्मचारीसित भेटेर प्रतिवेदन बुझायो । आईओएम र सम्बन्धन दिएको त्रिविले पनि लामो समय विद्यार्थीको पढाइ रोकिँदा नसुनेझैं गरेको विद्यार्थीको गुनासो छ ।


‘जानकी मेडिकल कलेजको हालसम्मको अवस्थाका सम्बन्धमा त्रिविले आवश्यक छानबिन गरी दोषी देखिएका जिम्मेवार व्यक्तिलाई कारबाही गर्ने,’ डा. केसीसँग सरकारले गरेको सहमतिमा उल्लेख छ । कलेजका कर्मचारी सञ्जय चौधरीका अनुसार कारबाहीबाट बच्न पनि सञ्चालक पटक–पटक फेरिन्छ । ‘कलेजको फितलो व्यवस्थापन, कलेज र अस्पताल मापदण्डअनुसारको नहुनु र विद्यार्थी भर्नालाई मात्रै आम्दानीको स्रोत ठान्दा यो कलेजमा बर्सेनि एउटै समस्या बल्झिरहेको छ,’ चौधरीले कान्तिपुरसँग भने, ‘त्यसैले कर्मचारीले तलब पाउँदैनन्, आन्दोलन हुन्छ, विद्यार्थी पढ्न पाउँदैनन् ।’ कलेज कर्मचारी संघका अध्यक्ष उमेश यादवका अनुसार तलबकै लागि २० पटकभन्दा बढी आन्दोलन गर्नुपरेको छ र सबैपटक विद्यार्थीको पढाइ रोकिन्छ । उनले कलेजका सञ्चालकले आर्थिक व्यवस्था नमिलाउँदा बर्सेनि एउटै समस्या दोहोरिरहेको बताए । हरेक वर्षको ५–६ महिना त विद्यार्थी र कर्मचारीले आन्दोलनमै बिताउँछन् ।


स्रोतका अनुसार नयाँ भर्नाका बेला एकमुष्ट करोडौं रुपैयाँ आउने भएपछि व्यवस्थापकले मेडिकल कलेज र शिक्षण अस्पताललाई व्यवस्थित रहेको देखाउँछन् । तर, पढाइ सुरु भएपछि व्यवस्थापकहरू कलेज आउन छाड्छन् अनि कर्मचारीको तलब बक्यौता रहन्छ, आन्दोलनले विद्यार्थीको पढाइमा असर पर्छ ।


जानकी मेडिकल कलेजमा एमबीबीएसका ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कलेजले सञ्चालन गरेको नर्सिङमा २ सय र बीएस्सी नर्सिङमा ५० जना विद्यार्थी पढ्छन् । सम्बन्धन पाएको पहिलो वर्ष जानकी मेडिकल कलेजले ६० जनाको कोटा पाएको थियो । त्यसपछि ८० र १ सय २० सम्म कोटा पाएको थियो । अहिले ६० मै झारिएको छ ।

 

सहमतिको बुँदा ७
जानकी मेडिकल कलेजको पठनपाठन अविलम्ब बिनाअवरोध नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत त्रिभुवन विश्वविद्यालयलाई तत्कालै निर्देशन दिने । हालसम्मको अवस्थाका सम्बन्धमा त्रिविले आवश्यक छानबिन गरी दोषी देखिएका जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्ने ।

Page 3
समाचार

फूलबारीमा बारी बाँझै

प्रत्येक घरका सदस्य वैदेशिक रोजगारीमा छन् । खाडीकै कमाइले चुलो बल्छ । खेतीबाट घर खर्च धान्न मुस्किल भएपछि उनीहरु विदेशिएका हुन् ।
- मोहन बुढाऐर
धनगढी–१४ डी गाउँका स्थानीय । यहाँका अधिकांश पुरुष वैदेशिक रोजगारीमा छन् । तस्बिर : मोहन

फुलबारी (कैलाली) - चालिस वर्षअघि पोखराको भगवतीटारबाट कैलालीको फूलबारी बसाइँ सरेका ८६ वर्षीय वसन्त रानाभाटको परिवार फेरि पुख्र्याैली थलोमै फर्किने योजना बुनिरहेको छ । रानाभाट परिवार कुनै दु:ख र पीडाले यसो गरिरहेको होइन, आफ्नै समुदायको सामीप्यता खोज्दै पुन: पुरानै थातथलोमा फर्किन चाहेको हो ।


यो परिवारले पोखरामा घरजग्गा खरिद गरेका छन् । ‘जेठो छोराको परिवार विदेशबाट फर्केलगत्तै पोखरामै घरजग्गा किनेर उतै बस्न थाल्यो,’ वृद्ध रानाभाटले भने, ‘कान्छोले पनि जग्गा खरिद गरिसकेको छ, घर बनाउन मात्र बाँकी छ ।’ घर बनाउने रकमको जोहो नहुँदासम्म कान्छो नारायणले विदेशबाट घर नफर्किने जानकारी गराएका छन्, परिवारलाई ।


रानाभाट परिवारका चार जना रोजगारीका लागि एउटै देश कतार पुगेका छन । भर्खरै जेठो छोरा फर्केर पोखरा बसाइँ सरे । जेठोका दुई छोरा पनि कतारमै छन् । उतैको कमाइले रानाभाट परिवारको आर्थिक अवस्था उकासिएको हो ।


२०३२ सालमा पोखराको भगवतीटारमा भीषण पहिरो गएको थियो । पहिरोबाट आहत ७४ परिवार घरबारविहीन भए । तत्कालीन सरकारले पुनर्वास कार्यक्रममार्फत उनीहरूलाई फूलबारीमा जमिन दियो । तिनैमध्येको एक थियो, वसन्त रानाभाटको परिवार ।


‘हामी पहिरो पीडितलाई नेपाल–भारत सीमा क्षेत्रमा पुनर्वास गराइयो,’ रानाभाटले भने, ‘त्यस बेला सरकारले भूमिहीन र दैवी प्रकोप पीडितलाई यहाँ बस्ती बसाउन सघायो ।’ प्राकृतिक प्रकोप र भूमिहीन दु:खी सबै परिवारलाई एकै ठाउँमा बसाइएकाले यो ठाउँको नाम फूलबारी रहन गएको बस्तीका अगुवा बताउँछन् ।


फूलबारी कैलालीको साविकको एक सिंगो गाउँ विकास समिति हो । हाल धनगढी उपमहानगरपालिकामा गाभिएको छ । नगरपालिकाको १४, १८ र १९ नम्बर वडामा बाँडिएको छ । बस्ती विकास कम्पनीले फूलबारीमा ‘ए’ देखि ‘के’ सम्मको प्लटिङ गरी प्रतिपरिवारलाई कमाइ खान २ बिघा र घर बनाउन ५ कट्ठा जमिन दिएको छ । पोखरा भगवतीटारका ७४ रानाभाट परिवारलाई ‘जे’ प्लटमा बसाइएको छ ।


त्यो बेलाको बन्जर भूमि हेर्दाहेर्दै गुल्जार भयो । पहिलाको जस्तो छैन, अहिले फूलबारी । विकासले गति लिँदैछ । हुलाकी सडकले सदरमुकाम धनगढीसँगको दूरी घटाएको छ । राज्य पुन:संरचनामा उपमहानगरमा गाभिएको फूलबारी अहिले नगरमा परिणत भइसकेको छ ।


तर, वसन्त रानाभाटको परिवार भने थातथलो फर्केर आफ्नै समुदायसँग बस्ने चाहनाले फूलबारी छाड्न थालेको हो । ‘यहाँभन्दा बढी सुविधा र रोजगारका सम्भावना पोखरामै छन्,’ वृद्ध रानाभाटले भने, ‘त्यही भएर छोराहरूले पोखरा सर्ने योजना ल्याए ।’ उनले आफूभन्दा पहिला पनि आफ्नो समुदायका धेरै परिवार पुरानै ठाउँमा फर्किसकेको जानकारी दिए । ७४ मध्ये अहिले ‘जे’ गाउँमा १५/२० परिवार मात्रै बाँकी छन् । ‘अरूहरू पनि विदेशकै कमाइबाट थातथलो फर्के,’ उनले भने, ‘यहाँ भएका प्रत्येक घरबाट एकदेखि चार जनासम्म वैदेशिक रोजगारमा छन् । घरजग्गा किन्ने पैसा जोहो हुनासाथ ठाउँ छोड्न थालेका छन् ।’


रानाभाट परिवारका सदस्यले विदेशको कमाइबाट घरजग्गा जोड्न थाले पनि गाउँका अन्य बेरोजगार युवायुवतीसमेत वैदेशिक रोजगारमा आकर्षित भएका छन् । यो गाउँबाट अन्य समुदायका युवा पनि विदेश हानिने क्रम सुरु भइसकेको छ । गाउँका ९० प्रतिशत युवा जनशक्ति वैदेशिक रोजगारका लागि खाडी मुलुकमा पसेको हुन सक्ने स्थानीय जनकराम धामीको अनुमान छ ।


‘जे’ कै पथमा ‘डी’ गाउँ
फूलबारीमै अर्को बस्ती छ, ‘डी’ गाउँ । यहाँका पनि प्रत्येक घरका सदस्य वैदेशिक रोजगारीमा गएका छन् । खाडीकै कमाइले घरको चुलो बल्छ । खेतीबाट घर खर्च धान्न मुस्किल भएपछि यहाँका युवा पनि विदेश जान बाध्य भएको ‘डी गाउँका जनक खड्का बताउँछन् ।


पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसको बसोबास छ, यो गाउँमा । अनेक जातजाति, भाषा, धर्म र समुदायको समिश्रण भएको बस्ती हो, यो । स्थानीयवासी धामीले भने, ‘परिवार संख्या बढ्यो । सरकारले उपलब्ध गराएको २ बिघा जग्गामा लगाएको खेतीले खान नपुग्ने भयो । परिवार संख्या बढ्दै जाँदा कृषि पेसाबाट जीवन धान्न सकेनन् । रोजगारी खोज्न सुरु भयो । पहिला सीमापारि भारतीय सहर जान्थे । अहिले खाडी मुलुक जाने फेसन जस्तै भएको छ ।’ सुरक्षित आप्रवासन कार्यक्रममा स्थानीय स्वयंसेवी पूर्णबहादुर तिवारीले ‘डी’ गाउँबाट सुरुमा ९ जना युवा रोजगारीका लागि कतार गएको जानकारी दिए । पर्वतबाट बसाइँ सरेका ९ जना युवालाई एउटा म्यानपावर कम्पनीका एजेन्ट लालबहादुर गुरुङले विदेश उडाएका थिए । ‘त्यहाँ गएकाहरूले महिना महिना घरमा पैसा पठाउन थाले,’ उनले भने, ‘त्यसले अरूलाई पनि आकर्षित गर्‍यो ।’ विदेशबाट फर्केका गाउँकै कृष्णप्रसाद भुसालले भने, ‘त्यहाँ सम्झौतामा उल्लेख भए अनुसारकै तलब, सुविधा मिल्यो । ओभर टाइम पाइयो । त्यो बेला राम्रो कमाइ भयो । थोरै जग्गा जोडे । घर बनाए । ऋण तिरियो ।’


उनी ७ वर्ष कतार बसेर फर्किएका हुन् । उनीसँगै गएका श्यामलाल लामिछाने अहिले पनि उतै छन् । उनी सुपरभाइजरको काम गर्छन् । काम गर्दा हात गुमाएका लामिछानेलाई अपांग भए पनि कम्पनीले रोजगारमै राखेर सहयोग गरिरहेको छ । स्वयंसेवीको काम गर्दै आएका तिवारी कुनै बेला आफैं खाडीमा पसिना बगाउँथे । ‘मुलुकमा सशस्त्र द्वन्द्व चर्किरहेको थियो,’ उनले भने, ‘गाउँमा कोही युवा पनि बस्न चाहेनन् । सुरक्षित पनि भइने र पैसा पनि कमाइ हुने लोभमा विदेशिए । त्यहींको कमाइ अहिले सदुपयोग गरी आर्थिक अवस्था सुधारिरहेका छन् ।’ पछिल्ला दिनमा खाडी जाने महिलाको संख्या पनि बढेको छ । ‘डी’ गाउँबाट मात्रै ३० प्रतिशत महिला वैदेशिक रोजगारीमा गएको तथ्यांक छ । यो गाउँमा पनि विदेश नगएको कुनै घर भेटिँदैन । फर्किने र जानेहरू जहिल्यै तम्तयार भएर बसिरहेका हुन्छन् । ‘१६ वर्ष कट्यो कि विदेश जान नागरिकता बनाउँछन्,’ तिवारीले भने, ‘त्यसपछि पासपोर्ट बनाएर भिसा लगाउन तँछाडमछाड सुरु भइहाल्छ ।’


गाउँका स्कुले किशोरकिशोरीका बीचमा ‘पढेर ठूलो भए डाक्टर वा इन्जिनियर बन्छु’ भनेर छलफल हुँदैन । ‘काम गर्न कुन देश जाने भन्ने सल्लाह हुन थाल्छ । फूलबारीका ‘डी’ र ‘जे’ गाउँमा मात्र होइन, ‘ए’ देखि ‘के’ गाउँसम्मकै अवस्था समान छ ।


देखासिकीले डोर्‍यायो
वैदेशिक रोजगारबाट फर्केकाहरूको चालढाल नै बेग्लै हुन्छ । उनीहरूको ‘हाइफाई’ जीवन देखेर गाउँका तन्नेरी त्यसै मोहित हुन्छन् । गाउँमै सानोतिनो व्यापार गर्नेहरू पनि बाहिर जान तम्सिन्छन् । तिनैमध्येका एक हुन्, अपित सापकोटा । चार वर्ष अघि गाउँमै उनले पसल गरेका थिए । पसल बेचेर कतार हानिए । त्यहाँको भिसा सकिएपछि अहिले घर
फर्केका छन् ।


फेरि मलेसियाको भिसा लगाउँदै छन्, उनी । ‘सबै साथीसंगीहरू विदेशको कमाइले रवाफिलो जीवन बिताउन थाले,’ उनले भने, ‘मलाई पनि रहर जाग्यो । दोकान बेचेर विदेश गएँ ।’ उनका अनुसार गाउँमा अहिले वृद्ध, महिला र बालबालिका मात्रै छन्, युवा जति विदेश । उनीहरूको सजिलो गन्तव्य खाडी मुलुक नै हो । अधिकांश कतार, मलेसिया र साउदी अरब गएका छन् । यहाँका अधिकांश घरबाट बुबा गए, उनले छोरा बोलाउने, भाइ, भतिजा र नातेदारलाई खबर गर्ने चलनै छ ।


बाँझै छ खेतबारी
खेतीपाती गर्न सक्ने युवा जनशक्ति विदेशिएपछि खेत त बाँझो हुने नै भयो । गाउँको खबर यस्तै छ । ‘वैदेशिक रोजगारमा गएका परिवारले कृषि पेसा नै छोडिसकेका छन्,’ स्थानीय सीतादेवी खत्रीले भनिन्, ‘उतैबाट पठाएको रकमले दाल, चामल किन्छन् । छोराछोरीको पढाइ र घर खर्च त्यहींको पैसाले धान्छन् ।’ उनका अनुसार आफूसँग भएको खेत अधियाँ वा ठेक्का दिने चलन पनि सुरु भएको छ । केहीले ठेक्का र अधियाँमा काम गर्ने मानिस नपाउँदा खेत बाँझै छाडेका छन् । खेती गर्न छोडेकाले वैदेशिक रोजगारबाट कमाएको रकम परिवारको गर्जो टार्नै ठिक्क हुन्छ । त्यसैले यस्ता परिवारले ठूलै आर्थिक फड्को पनि मार्न सकेका छैनन् । खाडीमा धेरै राम्रो कमाइ गर्नेले महिनामा ५०/६० हजार कमाउँछन् । महिनामा उताको खर्च कटाएर घर पठाउँदा ३०/४० हजार आउँछ । त्यो रकम खान, लाउन र केटाकेटीको पढाइ खर्चमै सकिन्छ ।


‘बुझेर जाँदा राम्रो’
रानाभाट परिवार ‘लक्की’ निस्क्यो । वैदेशिक रोजगारीमा जाँदा सबै कुरा जानेर बुझेर गएकाले उनीहरूलाई विदेश फलेको हो । तिवारीले भने, ‘विदेशमा रहेका घरकै सदस्यले अर्काेलाई बोलाउँदा अलपत्र पर्नुपर्ने अवस्था आएन ।’ उनका अनुसार विदेशमा रहेका नातेदारले त्यहींको रोजगारदाता कम्पनी खोजे । भरपर्दाे ‘दलाल’ सँग कुरा मिलाए र घरको अर्काे सदस्यलाई बोलाए । यसले उनीहरू ठगिने, विदेशमा अलपत्र पर्ने र गैरकानुनी भएर बस्नुपर्ने झन्झटबाट मुक्त भए ।


नत्र विदेश जाने रहर मात्रै पालेर प्रक्रिया नमिलाएर गएकाहरू विभिन्न समस्यामा फसिरहेका छन् । ‘कुरा नबुझेर विदेश गएका केहीको घरमा बिल्लीबाठ भएको छ,’ उनले भने, ‘विभिन्न समस्यामा परी गैरकानुनी भएर अलपत्र परेका छन् ।’ उनले विदेशमा अलपत्र परेका परिवारको यता घरमा साँझ बिहानको छाक कसरी टार्ने भन्ने समस्या रहेको सुनाए । अर्काेतिर विदेश जाँदा बोकेको ऋण तिर्न नसकेर साहुको हप्कीदप्की खाने पनि धेरै छन्, फूलबारीमा ।


लोभले विलाप
चार वर्षअघि विदेशबाट फर्किएका थिए, सुरेश विक । त्यसपछि उनले आफ्नो २२ वर्षे छोरालाई पनि उतै पठाए । मन नभए पनि छोराको जिद्दीकै कारण कतार पठाएको उनले बताए । त्यहाँ उनका छोराले मेसिनरी औजार चलाउने काम पाए । एक दिन अचानक काम गरिरहेकै अवस्थामा उनको मृत्यु भयो । यो दुई वर्ष अघिको घटना हो । ‘विदेशबाट छोरा खुसी लिएर आउला भन्ने लागेको थियो,’ बाबु सुरेशले भने, ‘लास भएर घर आउँदा कस्तो भयो होला । सानो लोभले विलाप भयो ।’ फूलबारीमा हालसम्म वैदेशिक रोजगारमा गएका सात जनाको मृत्यु भइसकेको छ ।

समाचार

सभामुख र अध्यक्षलाई सघाउन ओलीको निर्देशन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी ओलीले संसदका कामकारबाहीलाई सहज रूपमा सञ्चालन गराउन सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई बल प्रदान गर्न सांसदहरूलाई निर्देशन दिएका छन् । विभिन्न शीर्षकमा प्रतिपक्षी कांग्रेसले संसद् अवरोध गरिरहेको उल्लेख गर्दै त्यस्ता गतिविधि रोक्न पार्टीका सांसदहरूको भूमिका सक्रिय हुनुपर्ने ओलीको भनाइ छ ।


नेकपा संसदीय दलको शुक्रबारको बैठकमा प्रधानमन्त्रीले मौलिक हकसम्बन्धी कानुनहरू आगामी असोज ३ सम्म निर्माण गरिसक्नुपर्ने भएकाले संसद् अवरुद्ध हुँदा कार्यसूची प्रभावित हुने बताए । ‘एक/दुई जना उभिएका भरमा संसद् अवरुद्ध हुन दिनु हुँदैन,’ ओलीले भने, ‘असोज ३ गतेसम्म कानुन बनाइसक्नुपर्छ । यो काम समयमै सक्न हाम्रा सांसदले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनुपर्छ ।’


उनले सरकारका कामकारबाहीबारे संसद्मा सकारात्मक सन्देश प्रवाह गर्नेगरी भूमिका निर्वाह गर्न पनि पार्टीका सांसदहरूलाई आग्रह गरे । उनले अनुभवीहरूलाई संसद्मा अगुवाको भूमिका खेल्न पनि निर्देश गरे । ‘संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरूले अगुवाइ गर्ने र नयाँ साथीहरूले त्यसलाई पछ्याउने गर्नुपर्‍यो,’ प्रधानमन्त्री ओलीले भने, ‘शीर्ष नेताहरूले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नुपर्छ । जसले गर्दा संसद् र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।×’


ओलीले सरकारलाई असफल हुने छुट नरहेकाले सबै क्षेत्रबाट राम्रो काम गर्नुपर्ने बताए । ‘यस सरकारलाई असफल हुने छुट छैन,’ उनले भने, ‘यसलाई असफल हुन पनि दिइँदैन ।’ उनले कतै भ्रष्टाचार भएको थाहा पाए आफूलाई भन्न पनि आग्रह गरे । ‘म अनुहार नहेरी कारबाही गर्छु,’ उनले भने । दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, उपनेता सुवास नेम्बाङले संसदका काम र डा. गोविन्द केसीसँग भएका सहमतिबारे ब्रिफिङ गरेका थिए ।

समाचार

संसद्मा कांग्रेसको माग

फरक दलका सभामुख–उपसभामुख
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– संसदका सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्मा विरोध गरेको छ । डा. गोविन्द केसीको जीवनरक्षा र अध्यादेशअनुसारै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने भन्दै कांग्रेसले तीन सातादेखि संसद् अवरोध गरेको थियो । सरकार र केसीबीच बिहीबार सहमति भएपछि कांग्रेसले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने माग अघि सारेको हो ।


संविधानको धारा ९१ मा प्रतिनिधिसभाका सभामुख र उपसभामुखमा फरक(फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । संविधानको यही प्रावधानअनुसार तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले सभामुख र उपसभामुख भागबन्डा गरेका थिए तर दुई पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेपछि प्रतिनिधिसभासहित ६ प्रदेशका सभामुख र उपसभामुखको पद के हुने भन्ने संवैधानिक जटिलता देखिएको हो ।


सभामुख र उपसभामुख नेकपाकै भएकाले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार फरक दलको हुनुपर्ने माग कांग्रेसले राखेको हो । ‘संविधान फेर्न तागत छ भन्दैमा संविधान मान्दिनँ भन्न पाइँदैन,’ कांग्रेस सांसद मीनेन्द्र रिजालले शुक्रबारको बैठकमा भने, ‘एउटै दलको सभामुख र उपसभामुख हुन सक्दैन भनेर संविधानमा व्यवस्था छ । सभामुख र उपसभामुख अदालतको प्रतिवादी भएर बस्न पाइँदैन ।’


नेकपाका सांसद कृष्णभक्त पोखरेलले यो मुद्दा अदालतमा विचाराधीन रहेकाले छलफलको विषय बनाउन नहुने भन्दै नियमापत्ति जनाए । ‘यो अदालतमा विचाराधीन छ । अन्तिम सुनुवाइ भएको छैन,’ उनले भने, ‘रेकर्डबाट हटाइयोस् ।’ नेकपाका कृष्णबहादुर महरा र शिवमाया तुम्बाहाम्फे सभामुख र उपसभामुख छन् ।


प्रसाईंलाई कारबाही माग
संसद्मा कांग्रेस सांसदहरूले झापाको बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाही माग गरेका छन् । प्रसाईंले बंगलादेशमा अध्ययनरत नेपाली छात्राले मेडिकल शिक्षा अध्ययनका क्रममा आफ्नो अस्मिता सुम्पनुपर्ने बाध्यता छ भनेको भिडियो सार्वजनिक भएको थियो ।


बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले प्रसार्इंलाई के कारबाही हुन्छ भन्ने प्रश्न सरकारसँग गरेकी थिइन् । ‘दुर्गा प्रसाईंले बंगलादेशमा रहेका छात्रामाथि आपत्तिजनक शब्द प्रयोग गरेकाले के कानुनी कारबाही हुन्छ ?,’ उनले भनिन् । कांग्रेसकै अर्की सांसद डीला संग्रौलाले प्रसाईंले बोलेको शब्दले सम्पूर्ण महिलाको अस्मितामाथि प्रहार गरेको भन्दै कारबाहीको दायरामा ल्याउन आग्रह गरिन् । सांसद लक्ष्मी परियारले बंगलादेशमा अध्ययनरत छात्रामाथि बोलेको वाक्यकै कारण कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिए पनि प्रसार्इंलाई छुट दिइएको भन्दै विरोध जनाइन् । सांसद रामबहादुर बिष्टले प्रश्न गरे, ‘कानुनमन्त्रीले रोएर राजीनामा गर्नुपर्‍यो, प्रसाईंलाई कारबाही गर्न सरकार किन मौन ?’ कांग्रेसकै सांसद प्रकाश रसाइलीले छात्राहरूको चरित्रमाथि धावा बोल्ने प्रसार्इंमाथि कारबाही गर्न सरकारले के सोचेको छ भन्दै शिक्षामन्त्री पोखरेलमाथि प्रश्न राखेका थिए । सांसदहरूको यो प्रश्नमा मन्त्री पोखरेलले भने, ‘मन्त्रिपरिषदको निर्णयपछि सदनलाई जानकारी हुनेछ ।’

 

सरकार–केसी सहमतिको स्वागत
काठमाडौं (कास)– प्रमुख प्रतिपक्षी कांग्रेसले चिकित्सा शिक्षा सुधारका निम्ति सरकार र डा. गोविन्द केसीबीच बिहीबार भएको ९ बुँदे सहमतिको स्वागत गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको अक्षरश: पालनाका लागि सरकारसँग आग्रह गरे ।


कांग्रेसले केसीको मागमा ऐक्यबद्धता जनाउँदै साउन ३ गतेदेखि आन्दोलन गर्दै आएको थियो । साउन १५ मा तय गरिएको आन्दोलनको अन्तिम कार्यक्रम भने स्थगित नगरिएको शर्माले बताए । साउन १५ मा कांग्रेसले सरकारविरुद्ध विरोधसभा गर्दै छ ।


शर्माले अबको आन्दोलन डा. केसी र सरकारबीच भएको सहमतिलाई कार्यान्वयन गराउन लक्षित हुने बताए । उनले प्रतिनिधिसभा र प्रदेश संसद्मा एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नपाइने संवैधानिक व्यवस्थाको कार्यान्वयनका लागि पनि कांग्रेसले आन्दोलन जारी राख्ने बताए । ‘संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई दुव्र्यवहार गरिएको, मूल्य वृद्धिलगायत मुद्दा पनि कांग्रेससँग छन्,’ उनले भने ।


दुई तिहाइको बलमा जे पनि गर्न सकिन्छ भन्ने ‘दम्भ’ का कारण शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश नमान्दा नै सरकार समस्यामा फसेको शर्माले बताए । ‘सरकारलाई लोकतान्त्रिक बाटामा ल्याएर गल्ती सच्याउन हामीले दबाब दिएका हौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले यो आन्दोलन नगरेको भए जुम्लामा गएर अनशन बसेका डा. केसीको अवस्था के हुन्थ्यो होला ?’ उनले दुई पक्षबीच भएको सहमतिलाई मन्त्रिपरिषद्ले स्वामित्व नलिएका कारण कार्यान्वयनमा आशंका रहेको बताए ।


शुक्रबारको संसद्मा पनि कांग्रेसले सहमतिको स्वागत गरेको छ । कांग्रेस नेता मीनेन्द्र रिजालले सहमतिमा खुसी व्यक्त गर्दै चिकित्सा शिक्षा सुधार गर्न अब कसैले रोक्न नसक्ने बताए । उनले यो सहमतिले शिक्षा र स्वास्थ्यमा सरकार कसरी जाने भन्ने आधार पनि तय भएको बताए । सांसद गगन थापाले पनि केसीले उठाएका मागमा समझदारी गरेकामा सरकारलाई धन्यवाद दिए ।

Page 4
वाग्मती प्रदेश

ज्यानमारा खाल्डो

गिट्टी बालुवा उत्खननमा अति लापरवाही
- रमेशकुमार पौडेल
लदरी खोलामा बनेको ताल । यही तालमा डुबेर सोमबार दिदीबहिनी करुणा र रिया विकको मृत्यु भएको थियो । तस्बिर : रमेशकुमार

चितवन - गिट्टी, ढुंगा, बालुवा उत्खननको लापरबाहीले खैरहनीको लदरी खोलामा ३ जनाको ज्यान गयो । खोलाबाट सामग्री निकाल्दा सामान्य बेल्चा मात्रै प्रयोग गर्नुपर्ने नियम हुन्छ । यहाँ भने नियम लत्याएर ठूला उपकरण जेसीभी (एक्जाभेटर) ले अन्धाधुन्ध उत्खनन गरिन्छ । यसबाट बनेको खाल्डोमा जमेको पानीमा डुबेर एकपछि अर्कोले ज्यान गुमाएका छन् ।


खैरहनी नगरपालिका ३ गोठेश्वरका पाँच बालबालिका सोमबार मध्याह्न घरदेखि लगभग तीन सय मिटर परको लदरी खोलातिर घुम्न डुल्न गए । काठमाडौंबाट आएकी आफन्तसँगै रमाइलो गर्न गएका थिए । उनीहरूले खोलामा ठूलो पोखरी देखेपछि पौडी खेल्ने निधो गरे । पौडी खेल्नेमध्ये दुई दिदीबहिनी त्यही पोखरीजस्तै प्राकृतिक खाल्डोमा डुबे । र, दिदीबहिनीकै ज्यान गयो । मृत्यु हुनेमा १० वर्षकी रिया र १३ वर्षीया करुणा विक भएको प्रहरीले जनाएको छ । उनीहरू गोठेश्वरका रवि विकका छोरी हुन् ।


उनीहरू डुबेको तल लदरी खोलामा छिपछिपे पानी मात्रै बग्छ । खोलामा पानी खासै छैन । अरूतिर सुक्खा तर एक ठाउँ मात्र लगभग ५० मिटर लामो ठूलो दहमा उनीहरू डुबेका थिए । गिट्टी बालुवा झिक्नेले खोलो गहिराएका कारण पोखरी बनेको हो । उनीहरूको उद्धारमा संलग्न स्थानीय नारायण श्रेष्ठले डुबेका बालिका खोज्न डेढ घण्टा लागेको बताए । उनले भने, ‘खाल्डो कति ठूलो थियो यसैबाट अनुमान लगाउन सकिन्छ ।’ घटनास्थलभन्दा लगभग ५ सय मिटर पर छ, दिलबहादुर खड्काको घर । खड्काको परिवारलाई सोमबार राति राम्रोसँग निद्रा परेन । रविलाई जस्तो बज्रपात भएको थियो । खड्का परिवारलाई पनि तीन वर्षअघि यस्तो भएको थियो । खोलामा बनेको दहमा परेर कक्षा १२ मा पढदै गरेका छोरा सुबोधको २०७२ साउन २ मा मृत्यु भएको थियो । ३ वर्ष नबित्दै गाउँमा भएको यस्तै घटनाले उनलाई बेचैन बनाएको हो ।


तीन वर्षअघि पनि लदरी खोलामा गिट्टी बालुवा झिक्नेले उत्पातै मच्चाएका थिए । ४० फिट गहिरो खाडल बनाएर गिट्टी बालुवा झिकिएको थियो । पहिलाको कुरा त्यसै बिर्सदा उस्तै खालको त्रासदी पनि दोहोरियो । चितवन जिससका अनुसार काठमाडौंको तादी कन्स्ट्रक्सनले ५६ लाख ५० हजार रुपैयाँमा लदरी खोलाको गिट्टी बालुवा ठेक्का पाएको थियो । ‘गिट्टी बालुवामा एकदमै लापरबाही छ । खोलाको अति दोहन छ,’ जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीले भने, ‘म निर्वाचित हुनुअघि ठेक्का लागेको हो ।’


उनका अनुसार गिट्टी बालुवा निकाल्न ठूला मेसिन उपकरण प्रयोग गर्न पाइँदैन । तर लुकीछिपी गर्छन् । अनुगमन गर्ने हाम्रै दायित्व हो । हामी गर्छौं पनि ।
जेसीभी, टिपर, ट्रयाक्टर धेरै नियन्त्रणमा लिएको उनले बताए । ‘जति गरे पनि रोकिने होइन,’ उनले भने, ‘यो क्षेत्र साह्रै बदनाम भयो ।’

वाग्मती प्रदेश

सोलाभञ्ज्याङले लोभ्याउँदै

- राजकुमार कार्की

सिन्धुली– सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल सदरमुकाम आवतजावत गर्दा गढीनजिकको सोलाभञ्ज्याङमा केही समय बिताउँछिन् ।


सदरमुकाम र आफ्नो गाउँपालिका कार्यालयतिर उखरमाउलो गर्मी हुन्छ । गढी क्षेत्र आएपछि गर्मीमा समेत जाडोले हुँदा आनन्द आउने उनी बताउँछिन् ।


कामको चटारो त्यहीमाथि गर्मीले गर्दा धेरै नै थाकित हुने उनले बताइन् । ‘सोला आउनासाथ बेग्लै आनन्द आउँछ, फुर्सद छ भने गढी नै उक्लिएर बस्छु,’ अध्यक्ष दीपाले भनिन्, ‘धेरै नै हतार छ भने पनि एक आधा घण्टा त बसेकी नै हुन्छु ।’


उनी मात्र होइन, गोलन्जोर गाउँपालिका अध्यक्ष पुष्प कार्कीको अनुभव पनि उस्तै छ । तनाव र थकान मेटाउने थलो गढी क्षेत्र भएको बताए । ‘बाह्रै महिना यहाँ हुस्सु लाग्छ,’ उनले भने, ‘यही भएर होला गर्मीको महिना त यो स्वर्ग नै हो ।’ गढी क्षेत्रको बृहत्तर विकास गर्न सके पर्यटकको ओइरो लाग्ने उनको अनुमान छ । गोलन्जोरकै वडा ५ रातनचुराले गढी क्षेत्रलाई छोएको र त्यसलाई साइकल जोनका रुपमा विकास गर्न गाउँपालिका लागेको अध्यक्ष कार्कीले बताए ।


गढी क्षेत्रमा बसोबासको राम्रो व्यवस्था हुने हो भने केही दिन बिताउनै पर्यटक आउने सिन्धुलीगढी अन्वेषणकर्ता सागरकुमार ढकालको भनाइ छ । सदरमुकामबाट २० किमि उत्तरमा पर्ने यस ठाउँमा गर्मी मौसममा पनि जाडो हुन्छ । गर्मी भुलाउन र प्राकृतिक सौन्दर्यमा आनन्द लिन तराई क्षेत्रको हब सिन्धुलीगढी बन्दै गएको छ । सिन्धुलीगढी क्षेत्रमा रहेको ऐतिहासिक महत्व, हावापानी र नागबेली सडकका कारण तराइबाट सयौं सवारी साधनमा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । वर्षातको समयमा पनि गर्मी भुलाउन छिमेकी जिल्ला तथा भारतबाट समेत पर्यटक गढी क्षेत्र पुग्छन् ।

वाग्मती प्रदेश

‘उल्टो बाटो यात्रा सकसपूर्ण’

१३३ किमि यात्रापछि पुगिने चरिकोट १९१ किमि तय गर्नुपर्छ
- राजेन्द्र मानन्धर

दोलखा– चरिकोटदेखि लामोसाँघु हुँदै जान सकेको भए मंगलबार एक जनाले ज्यान गुमाउने गरी भएको दुर्घटना टर्न पनि सक्थ्यो । चौडा बनाउने नाममा वर्षौंसम्म भत्काएर छाडिएको ५५ किमि उक्त सडकमा साना सवारी चल्न नसकेकाले वैकल्पिक बाटो रामेछाप–खुर्कोट हुँदै काठमाडौं जाने क्रममा निजी बलेरो गाडी दुर्घटना भयो । त्यसमा सवार जिसस दोलखाका कर्मचारी मनोहरि थापाको मृत्यु भयो । एक इन्जिनियर सख्त घाइते भए ।


केही दिनदेखि दोलखा–काठमाडौं आउजाउ गर्ने साना सवारी करिब ५८ किमि लामो रामेछाप, खुर्कोट र धुलिखेल सडक प्रयोग गर्दै आएका छन् । काठमाडौंबाट पूर्वतर्फ १३३ किमि यात्रापछि लामोसाँघु–जिरी सडकबाट सदरमुकाम चरिकोट पुग्न सकिन्छ । अहिले घडी घुमे जसरी घुम्दै रामेछाप र खुर्कोट हुँदै बल्लबल्ल करिब १९१ किमि यात्रापछि आउजाउ हुन्छ । उक्त मार्गमा एक्कासि बढेको सवारी चाप, खोला बढेर हुने अवरोध, ढुंगा खस्न सक्ने खतरा र नयाँ मार्गको प्रयोगमा अनुभवको कमीले यात्रुले खतराका साथै सकस बेहोरिरहेका छन् ।
चौडा पार्न भत्काएर छाडेकाले लामोसाँघु–चरिकोट सडक दुई वर्षदेखि बिग्रिरहेको छ । यस्तैमा जेनतेन सवारी चलिरहेका थिए । तर वर्षायाम लाग्नेबित्तिकै सडकमा आउजाउ गर्नै नसक्ने भएको छ । यात्रुले बाध्यतावस उल्टो बाटो प्रयोग गर्नु परिरहेको छ । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले लामो र असुरिक्षत बाटो प्रयोग गर्न बाध्य भएको बताए । निर्माण व्यवसायीको लापरबाहीले बिग्रिएको सडक अस्थायी रूपमा चल्न सक्ने बनाउन सकिन्छ । तर प्रशासन र सम्बन्धित पक्षलाई दबाब दिँदा पनि वास्ता नगरिएको उनी बताउँछन् ।
लामोसाँघुदेखि मुढे खण्ड सबैभन्दा बढी बिग्रिएको छ । उक्त सडकमा ठूला सवारी फस्ने र खाल्डाखुल्डीले साना चल्नै सक्दैनन् । सडक परियोजना प्रमुख केदार नेपालले निर्माण व्यवसायीले धोका दिएकाले बेहाल भएको स्विकारे । ठूला सवारीका लागि सडक सुधार गर्दै चालू गर्दै गरेको उनले बताए ।


लामो सयमसम्म सडक बिग्रिएपछि दोलखाको पर्यटन व्यवसाय खस्कँदो छ । यात्रु बाटामै अलपत्र परिरहेका हुन्छन् । ठूला सवारी बाटोमा जताततै फसेका छन् । यही कारण धुलिखेलबाट छोटो बाटो छाडेर यात्रु दक्षिणतर्फ खुर्कोटतर्फ जान्छन् । दोलखा जाने सवारी थपिएकाले धुलिखेलबाट खुर्कोटसम्म सडकको चाप एकदमै बढी छ । चाप बढेकाले नेपालथोकदेखि खुर्कोटसम्म ‘टाइम कार्ड’ नै प्रयोग गरेर दुर्घटना कम गर्ने उपाय ट्राफिक प्रहरीले रचेको छ ।


खुर्कोटबाट १७ किमि साघुँरो र खतरा मानिने मन्थलीसम्मको सडकमा पनि दोलखा आउने सवारी थपिएकाले चाप बढेको हो । वर्षाका बेला ढुंगा खस्ने र भलले सडक भरिने किर्नेटारसम्म सडक पार गर्नु निकै कष्ट रहेको चरिकोटका व्यवसायी मनोज श्रेष्ठले बताए । निकै सावधानीपूर्वक यात्रा गर्नुपर्ने उनी सुनाउँछन् ।


निकै सजिलो र सुरक्षित मानिने सन् १९८५ मा पूरा गरेको लामोसाँघु–जिरी सडक बेहाल हुनुमा निर्माण व्यवसायीकै लापरबाही भएको ठहर गरिएको छ । आयोजनाका अनुसार भारतीय सहयोगमा चौडा बढाउने ठेक्का लिएको सुनौलो खिम्ती प्रालिले धोका दिँदा समस्या थपिएको हो । काम सम्पन्न गर्न नसकेकाले उक्त कम्पनीका भीमसेन भण्डारीलाई पक्राउ गरी सरकारले हिरासतमा लियो र छाडियो । काम भने अझै अघि बढेन । कारबाही कडा हुँदै गएपछि सुनौलो खिम्तीले काम अर्कालाई जिम्मा लगाएको छ । अहिले लामोसाँघुस्थित खाडीचौरदेखि मुढेसम्मको कामको जिम्मा भारतीय कम्पनी सीमाञ्चल र गौरीपार्वतीले लिएका छन् । उनीहरूले पनि सडकमा सबै सवारी चल्न सक्ने बनाउन नसकेको आयोजना प्रमुख नेपालले बताए ।


नाला बनाउने कार्यप्रगति राम्रो भएको र वर्षायाम सकिनेवित्तिकै निर्माणलाई तीव्र पारिने उनले बताए ।

वाग्मती प्रदेश

रौनक गुरुपूर्णिमाको

छोटकरी
- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– गुुरुपूर्णिमाका अवसरमा शुक्रबार यहाँका शैक्षिक संस्थामा विद्यार्थीले गुरुवर्गको सम्मान गरेका छन् । हेटौंडाकै जेठो स्कुल भुटनदेवी माविका २०३१ सालको एसएलसीका विद्यार्थी भेला भई शिक्षकको श्रद्धा गरेका हुन् ।


भुटनदेवी हाई स्कुल मैत्री समूह २०३१ ले गरेको उक्त कार्यक्रममा शिक्षकलाई सम्मान गर्नुका साथै १० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । समूहका १० सदस्यले १० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएका हुन् । यसैगरी हेटौंडा २ स्थित मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले प्राध्यापकहरूलाई सम्मान गरे । गुरुहरूलाई ढाकाटोपी र खादा ओढाएर मिठाई खुवाएका थिए । यस्तै सिद्धार्थ माविका शिक्षकलाई पनि विद्यार्थीले सम्मान गरे । मकवानपुरका विभिन्न स्थानमा खेलाडी, कलाकारले गुरुलाई सम्मान गरेका छन् ।

वाग्मती प्रदेश

अक्षयकोष स्थापना

छोटकरी
- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– शिक्षण पेसाबाट निवृत्त हेटौंडा उपमहानगरपालिका २ का गोकुलाल श्रेष्ठले गुरुपूर्णिमाका दिन उत्कृष्ट शिक्षक पुरस्कार अक्षयकोष स्थापना गरेका छन् । आगामी वर्षदेखि सामुदायिक स्कुल सिद्धार्थ माविका उत्कृष्ट एक शिक्षकलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । उक्त विद्यालयका पूर्व प्रअसमेत रहेका श्रेष्ठले गोकुल बागेश्वरी अक्षयकोष स्थापना गरेर पुरस्कारको व्यवस्था गरेका हुन् । अक्षयकोष स्थापना गर्न उनले प्रअ मोहन शर्मा र व्यवस्थापन समिति अध्यक्ष मधु क्षेत्रीलाई २ लाख रुपैयाँ नगद उपलब्ध गराएका थिए । कोषको ब्याजले रकम नपुग भए पेन्सनबाट पूरा गराउने उनले बताए ।

वाग्मती प्रदेश

शिशु झोलामा

छोटकरी
- कान्तिपुर संवाददाता

धादिङ (कास)– शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा३ख ७४८२ नम्बरको यात्रुबसमा प्लास्टिक झोलामा सिक्री लगाएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो । शिशु झोलामा राखेर लैजाने उनकै बावु सरोज तामाङ हुन् । धादिङको गंगाजमुना १ रिगाउ‘का सरोजले लुकाएर राखेको झोलाभित्र बालक रोएपछि सहचालकले प्रहरीलाई खबर गरेका थिए ।

वाग्मती प्रदेश

‘नो–पार्किङ’ बारे मतभेद

छोटकरी
- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– निश्चित क्षेत्रमा मात्र तोकिएको ‘नो–पार्किङ’ ले व्यापार व्यवसाय चौपट भएको भन्दै स्थानीय उद्योगी आन्दोलित भएका छन् । निर्णयको विपक्षमा नभए पनि सीमित क्षेत्रमा मात्रै असर गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन् । ‘हामी नगरलाई व्यवस्थित गर्ने कुराको विरोधी होइनौं, सहयोग गर्न तयार छौं,’ मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले भने, ‘उपमहानगरले नै उपप्रमुखको नेतृत्वमा गठन गरेको समितिले यसबारे प्रतिवेदन तयार गरेको छ, तर प्रमुखको हठले लागू भएन ।’ उपमहानगरपालिकाले असार १७ गते पार्किङ व्यवस्थित गर्न भन्दै राप्ती रोड क्षेत्रलाई ‘नो पार्किङ एरिया’ घोषणा गरेको थियो । लगत्तै स्कुलरोडलाई पनि घोषणा गरे पनि लागू गर्न सकेको छैन ।

 

Page 5
उपत्यका

लाइट बन्द, इशारा चालु

- दीपेन्द्र विष्ट

काठमाडौं - १० वर्षदेखि काठमाडौंमा ट्राफिक बत्तीले राम्ररी काम गरेका छैनन् । २० वर्षअघि नै सवारीको चाप बढेकाले नियन्त्रणलाई ट्राफिक बत्ती जोडिएको थियो । त्यसको तुलनामा काठमाडौंमा सवारी चाप निकै बढेको छ । तर, व्यवस्थापन भने सडक चोकमा उभिने ट्राफिक प्रहरीका २ हात र सिटीको भरमा चलिरहेको छ । बिग्रिएका बत्तीले सडक चोकमा उभिएर जाम व्यवस्थापनमा उत्रेका ट्राफिक प्रहरीलाई गिज्याइरहेका जस्तो लाग्छ । प्रयोगमा नआएका लाइटमा कतै परेवाले गुँड बनाएका छन् भने कतै धूलोको पत्रमाथि पत्र थपिएका छन् । एकातिर बत्तीको दुर्गति छ भने अर्कातिर ट्राफिक प्रहरीलाई सास्ती । काठमाडौंका सबभन्दा धेरै ट्राफिक जाम हुने कलंकी, कोटेश्वर र कालिमाटीमा खटिने प्रहरीको अनुभवमा उनीहरूका लागि आफ्नो पेसा नै एक प्रकारको सजायजस्तै हो ।


प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटा कोटेश्वर चोकमा ट्राफिक व्यवस्थापनका लागि दैनिक ४ देखि ६ घण्टा खटिन्छन् । सडकमा उड्ने धूलो खाएरै उनी सिटी फुक्छन्, हावामा हात नचाउँछन् । प्रचण्ड गर्मी होस् वा झरी सवारीलाई संकेत दिने काम जारी रहन्छ । ‘सवारीको चाप यति धेरै बढिसकेको छ, अब ट्राफिक लाइटले मात्रै पुग्दैन । ओभरहेड ब्रिज र अन्डरपास बनाउनैपर्छ,’ उनी भन्छन्, ‘हातको इशाराले कति दिन ट्राफिक व्यवस्थापन गर्ने ?’


कलंकी चोकमा ट्राफिक व्यवस्थापनमा उत्रने प्रहरी निरीक्षक विम थापाको गुनासो पनि उस्तै छ । सवारीसाधन र पैदलयात्रीको अत्यधिक चाप हुने कलंकीमा उनी हातको इशाराले गाडीको भीड व्यवस्थापन गर्छन् । ‘धूलो, धूवाँले कति असर गर्छ भन्ने छोडौं, शरीर पनि मेसिनजस्तै भइसक्यो,’ उनी भन्छन्, ‘ट्राफिक बत्ती र अन्डरपास छिटो सञ्चालनमा आए सवारीसाधनका साथै पैदलयात्री कन्ट्रोल गर्न सजिलो हुन्थ्यो ।’


उनी सवारीमात्र नभई ट्राफिक लाइन नहुँदा पैदलयात्री पनि जोखिममा परिरहेको बताउँछन् । ‘पैदलयात्री ह्वात्तै आउँछन् । कहिले त गाडी नियन्त्रण गर्ने कि, पैदलयात्री भन्ने मेसो नै पाइँदैन । बत्ती नहुँदा पैदलयात्री दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ ।’ बल्खु–कोटेश्वर खण्डको सडक विस्तार भइरहेकाले ट्राफिकजाम अत्यधिक हुने उनले बताए ।


कालिमाटी क्षेत्रका ट्राफिक असई विकल भट्टराई पनि बत्ती नहँुदा सवारी व्यवस्थापन गाह्रो हुँदै गएको बताउँछन् । ‘प्रविधिले फड्को मारिसक्यो, हामी आइल्यान्डमा उभिएर हात हल्लाइराछौं,’ उनले भने, ‘बाटो काटभन्दा सिटी, गाडी रोकभन्दा सिटी, अगाडि बढ र रोकभन्दा हात हल्लाउने यसरी कति दिन चल्छ ?’ करिब ४ महिनाअघि ७ स्थानका बत्ती मर्मत गरेर बाल्ने कोसिस गरिए पनि राम्ररी काम गरेका छैनन् । जापान सरकारको सहयोगमा निर्मित तीनकुने–सूर्यविनायक सडक खण्डका ६ वटा ट्राफिक बत्तीमात्र राम्ररी बल्छन् । नयाँ बानेश्वर चोकमा भने ट्राफिक बत्ती चलिरहेको छ ।


लाइटमात्र होइन, काठमाडौंका सडकका अन्य संकेत पनि ठीक अवस्थामा छैनन् । कतिपय संकेत सूचक बोर्डहरू धूलोले पुरिएका छन् भने कति भत्किएका छन् । ‘चाहिने जति जेब्रा क्रसिङ छैनन् । भएका ठाउँमा पनि पेन्ट मेटिएर केही देखिँदैन,’ महानगरीय ट्राफिक महाशाखाका एसएसपी वसन्त पन्त भन्छन्, ‘वर्षामा जेब्रा क्रसिङको संकेतसम्म देखिँदैन । यसले गर्दा जेब्रा क्रसिङमै पैदलयात्रीको मृत्यु हुने सम्भावना बढी छ ।’ महाशाखाका अनुसार काठमाडौंको सवारी दुर्घटनामा मृत्यु हुनेमा ४३ प्रतिशत पैदल यात्रु छन् ।


उपत्यकमा करिब १ हजार २ सय ट्राफिक प्रहरी परिचालित छन् । उपत्यकाको सवारी चापलाई हेर्दा र प्राविधिकबिना सवारी नियन्त्रण गर्न यो जनशक्ति निकै कम भएको पन्तको भनाइ छ । सार्वजनिक यातायातमा लामो अध्ययन अनुसन्धान गरेका पुल्चोक इन्जिनियरिङ कलेजका अतिथि प्राध्यापक सूर्यराज आचार्य उपत्यकाको यातायात पूर्वाधार नै कमजोर भएको बताउँछन् । ‘पूर्वाधार पैदलमैत्री नै छैन,’ उनले भने, ‘ट्राफिक बत्ती खै ? ट्राफिकले हात हल्लाएको भरमा कति दिन चल्छ ?’


आइल्यान्ड र जेब्रा क्रसिङ निर्माण, ट्राफिक बत्ती जडान तथा मर्मतको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हो । सडक विभाग ट्राफिक महाशाखाका प्रमुख दीप बराहीले एक साताभित्र टेन्डर आह्वान गरेर लाइट जोड्ने प्रक्रिया अघि बढाइने बताए । ‘सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ,’ उनले भने, ‘बिमस्टेक बैठकभन्दा अघि सम्पूर्ण चोकमा लाइट जडान गरिन्छ ।’ बिमस्टेक बैठक भदौ १४ र १५ मा काठमाडौं हुँदैछ ।


थापाथली, कोटेश्वर, सिंहदरबार, पुतलीसडक, त्रिपुरेश्वरलगायत क्षेत्रका लाइटको मर्मत गरिनेछ । यस्तै पुरानो बानेश्वर, गौशाला र मित्रपार्कमा नयाँ लाइट जडान गरिने बराहीले बताए । त्यसै गरेर उपत्यकाका सबै सडक डिभिजनलाई जेब्रा क्रसिङ, साइड वालका रङरोगनलगायत मर्मत गर्न पनि सडक विभागले निर्देशन दिइसकेको उनले बताए । यसअघि उपत्यकाका ७ स्थानमा बत्ती जडान गरिसकेको छ ।


तस्बिरहरू : किरण पाण्डे र अंगद ढकाल

उपत्यका

रानीपोखरी सेनालाई दिइँदैन : महानगर

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई नदिइने स्पष्ट पारेको छ ।


शुक्रबार भएको २७ औं बोर्ड बैठकमा उपमेयर हरिप्रभा खड्गीलगायत वडा सदस्यले निर्माणको जिम्मा सेनालाई दिने विषयमा प्रश्न उठाएका थिए । उनीहरूको प्रश्नको जवाफ दिंदै मेयर विद्यासुन्दर शाक्यले सेनालाई दिने विषयमा छलफल भए पनि निर्णय नभइसकेको बताए । ‘छलफल भएको हो,’ मेयर शाक्यको भनाइ उद्धृत गर्दै खड्गीले भनिन्, ‘तर दिने निर्णय भएको छैन । खै कसले हल्ला चलाइदियो ।’ पुरातात्त्विक मान्यताविपरीत पुनर्निर्माण सुरु भएपछि विवाद सुरु भएको थियो । पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने विषयमा रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यबीच छलफल भएको दाहालले बताएका थिए ।


यससम्बन्धी समाचार सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भएको थियो । २०७२ वैशाख १२ भूकम्पले पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा मात्रै क्षति पुर्‍याए पनि यसलाई ‘ब्युटिफिकेसन’ गर्ने भन्दै आधुनिक निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण सुरु गरिएपछि विवाद चर्केको थियो ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पुरातत्त्व विभागका महानिर्देशक दाहाल, काठमाडौं महानगरका मेयर शाक्यलगायतको बैठकले गत जेठ १५ भित्रै काम सुरु गर्ने निर्णय गरेको थियो । तर सुरु गर्ने भनेको २ महिना बितिसक्दा पनि काम हुन सकेको छैन ।

Page 6
विविधा

‘हराइरहेका’ हेपाटाइटिस रोगी

सन्दर्भ : विश्व हेपाटाइटिस दिवस
कलेजो धेरै नबिग्रिएसम्म खासै लक्षण नदेखिनाले संसारभर नै दीर्घकालीन हेपाटाइटिस बी र सी संक्रमित १० मध्ये ९ जना आफ्नो रोगबारे अवगत छैनन् ।
- डा. अनन्त श्रेष्ठ

आज जुलाई २८, अर्थात विश्व हेपाटाइटिस दिवस । हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा. बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ । विश्वभरका करिब ३२ करोड मानिस दीर्घकालीन हेपाटाइटिस बी र सीबाट संक्रमित भएको अनुमान छ ।
समयमा उपचार नपाए दीर्घकालीन हेपाटाइटिस बी र सी संक्रमित व्यक्तिमा कलेजोको सिरोसिस भई उक्त अंगले काम नगर्ने अवस्था (लिभर फेलियर) आउँछ । कलेजोको क्यान्सरको पनि उच्च जोखिम रहन्छ । कलेजो धेरै नबिग्रिएसम्म खासै केही लक्षण नदेखिनाले संसारभर नै दीर्घकालीन हेपाटाइटिस बी र सी संक्रमित १० मध्ये ९
जना आफू संक्रमित भएकोबारे अवगत छैनन् ।


आफू संक्रमित भएको थाहा पाएकाहरू पनि हीनताबोध र सामाजिक अपहेलनाका कारण आफ्नो रोग लुकाउन बाध्य छन् । धेरै बिरामीहरूमा हेपाटाइटिस बी र सीको उपचार सम्भव छ भन्नेसमेत जानकारी नै छैन, जुन आजका दिनमा साह्रै दुर्भाग्यको विषय हो । केही वर्षदेखि विश्व हेपाटाइटिस एलायन्स र विश्व स्वास्थ्य संगठनले २०३० भित्र हेपाटाइटिस निर्मूलीकरणको लक्ष्य बनाएका छन् । यस वर्ष विश्व हेपाटाइटिस दिवसको मुख्य नारा ‘हराइरहेका रोगीको खोजी’ छ । संक्रमित व्यक्तिहरू पत्ता लगाई निदानमा जोड दिनु नै यो वर्षको लक्ष्य छ । यदि २०३० सम्ममा हेपाटाइटिस निर्मूलीकरण गर्ने लक्ष्य लिने हो भने हरेक व्यक्ति यसबारे सचेत हुन जरुरी छ । साथै हेपाटाइटिस परीक्षण र संक्रमित भए–देखिएमा यसको उपचारमा लाग्न अत्यन्तै जरुरी देखिन्छ ।


नेपालमा करिब १ लाख ३० हजार हेपाटाइटिस सी र २५ लाख हेपाटाइटिस बीबाट दीर्घकालीन रूपमा संक्रमित छन् । वैदेशिक रोजगारीमा जाने वा रक्तदान गर्ने क्रममा रगत परीक्षण हुँदा केही व्यक्तिमा संक्रमण भएको पत्ता लाग्ने गरेको छ । तैपनि धेरै मानिस आफ्नो रोगबारे अनभिज्ञ छन् । समयमा उपचार नगरिएको खण्डमा, यी जीवाणुले संक्रमित व्यक्तिको कलेजो क्रमश: बिगार्दै लान्छ र अन्त्यमा कलेजोले कामै गर्न नसक्ने अवस्थामा पुग्छ । यस्तो अवस्थालाई कलेजोको सिरोसिस भनिन्छ । त्यसैगरी दीर्घकालीन हेपाटाइटिस बी र सीको संक्रमणको कारण कलेजोको क्यान्सर हुने सम्भावना पनि उच्च हुन्छ ।


कलेजोको सिरोसिस वा क्यान्सर भैसकेपछि यस रोगको निदान र उपचार त्यति प्रभावशाली हुँदैन । त्यसैले दीर्घकालीन हेपाटाइटिस लागिसकेपछि समयमा यसको निदान र उपचार हुन अत्यन्त जरुरी देखिन्छ । कलेजोमा धेरै असर नपरेसम्म खासै कुनै लक्षण नदेखिने हुनाले आफूमा दीर्घकालीन हेपाटाइटिस बी र सी छ या छैन भन्ने थाहा पाउन यस सम्बन्धी रगत परीक्षणको विकल्प छैन ।

 

हेपाटाइटिस ‘बी’
हेपाटाइटिस बीका जीवाणु संक्रमित व्यक्तिको रगत र शरीरका तरल पदार्थको सिधा सम्पर्कबाट अन्य व्यक्तिमा सर्ने गर्छ । नेपालमा ६–१५ वर्षको उमेरमा यो रोग सर्ने गरेको देखिन्छ । तर केही समुदाय जस्तै– तिब्बती शरणार्थीमा भने यो रोग बच्चा जन्मने बेला संक्रमित आमाबाट बच्चामा सर्ने गरेको देखिन्छ । हेपाटाइटिस बीका जीवाणुले एकपटक हाम्रो शरीरलाई संक्रमित तुल्यायो भने अटुट रूपमै जोडिएर बस्ने गर्छ । तर सबै संक्रमित व्यक्तिमा यो जीवाणुले कलेजो खराब गराउँदैन ।


करिब २५ प्रतिशत दीर्घकालीन रूपमा संक्रमित व्यक्तिमा मात्र हेपाटाइटिस बी सक्रिय रहने गर्छ । यस्ता व्यक्तिमा कलेजोको सिरोसिस र क्यान्सर हुने जोखिम उच्च हुन्छ । बाँकी ७५ प्रतिशतमा यो जीवाणु निष्क्रिय नै रहन्छ । लामो समयको संक्रमणपछि पनि कलेजो स्वस्थै रहन्छ ।


केही रगत परीक्षण र कलेजोको कडापन नाप्ने प्रविधिबाट संक्रमित व्यक्तिमा हेपाटाइटिस बी सक्रिय छ वा निष्क्रिय, सजिलै पत्ता लगाउन सकिन्छ । सक्रिय रहेको खण्डमा हेपाटाइटिस बी विरुद्ध एन्टिभाइरल औषधिको प्रयोगबाट यस जीवाणुलाई पुन: निष्क्रिय बनाउन र कलेजोको सिरोसिस वा क्यान्सर हुनबाट जोगाउन सकिन्छ ।

 

हेपाटाइटिस ‘सी’
हेपाटाइटिस सीका जीवाणु हेपाटाइटिस बीजस्तै रगतबाट सर्ने गर्छ । प्राय: लागुपदार्थ दुव्र्यसनी, असुरक्षित रगत चढाइएका व्यक्तिमा र असुरक्षित सुई लगाएका, टाटु खोपेका व्यक्तिमा हेपाटाइटिस सी बढी देखिन्छ ।


पश्चिम नेपालमा सीमापारिका भारतीय अस्पतालमा शल्यक्रिया गरिएका व्यक्तिमा पनि हेपाटाइटिस सी संक्रमण बढी देखिने गरेको छ । हेपाटाइटिस बीजस्तै यो रोगमा पनि सुरुको अवस्थामा कुनै लक्षण हुँदैन । धमिराले काठलाई भित्रभित्रै खाएजस्तै लामो समयको संक्रमणपछि यो रोगले कलेजोको सिरोसिस र क्यान्सर गराउन सक्छ । सबै व्यक्तिमा उत्ति नै सक्रिय नरहे तापनि यो रोग पूर्णरूपमा निको र निर्मूल हुनसक्छ । विगत केही वर्षमा हेपाटाइटिस सीको उपचारमा चिकित्सा विज्ञानले ठूलो फड्को मारेको छ ।
‘डाइरेक्टली एक्टिङ एन्टिभाइरल’ (डीएए) औषधिहरूको आविष्कारले करिब ९९ प्रतिशत केसमा हेपाटाइटिस सी पूर्णरूपमा निर्मूल हुने गरेको छ । न्यून ‘साइडइफेक्ट’ । सजिलै उपलब्ध । ३–६ महिनासम्म दिनमा १ गोली खाएरै हेपाटाइटिस सीसँगै सिरोसिस र कलेजोको क्यान्सरको जोखिम पूर्णरूपमा निर्मूल गर्न सकिन्छ । यो चिकित्सक तथा संक्रमितका लागि पनि साँच्चै खुसी प्रदान गर्ने विषय हो ।


विकसित देशमा डीएए औषधिहरू साह्रै महँंगा छन् । नेपालमा भने बाहिरको मूल्यको करिब १ प्रतिशत मूल्यमा पाइने गरेको छ । उपचार अगाडि नै सिरोसिस भैसकेको खण्डमा भने यसको प्रभावकारितामा केही ह्रास आउने गरेको देखिन्छ । त्यस्ता व्यक्तिमा हेपाटाइटिस सीका जीवाणु पूर्णरूपमा निर्मूल भए पनि कलेजोमा क्यान्सर पलाउने जोखिम भने रहिरहन्छ । तसर्थ यो रोग पत्ता लाग्ने बित्तिकै उपचार गरेर चाँडोभन्दा चाँडो निर्मूल बनाउनुपर्छ ।


एक त दीर्घकालीन रूपमा हेपाटाइटिस बी र सीका संक्रमित बिरामी यस रोगबारे अनभिज्ञ छन् । दोस्रो थाहा पाएका व्यक्तिमा पनि यो रोगबारे चेतना कम छ । सामाजिक अपहेलनाका डरले रोगको समयमा सही उपचार हुनसकेको छैन । संक्रमितहरू कलेजो रोग विशेषज्ञसम्म पुग्नसकेका छैनन् । २०३० सम्ममा नेपालले हेपाटाइटिस उन्मूलनको लक्ष्य राख्ने हो भने यी सबै चुनौतीका बाबजुद सबै सम्बन्धित निकायहरू एकजुट भई यस रोगविरुद्ध लाग्नुपर्छ ।


कलेजोरोग विशेषज्ञ श्रेष्ठ ‘नेप्लिज एसोसिएसन फर द स्टडिज अफ द लिभर’ का सचिव हुन् ।

विविधा

केसी, गान्धी र माक्र्स

समय रेखा
समयले गान्धी सदृश अभियन्ताको जीवनमाथि लामै टिक्टिक् गर्‍यो । यस्ता सरल समाजवादी माग राखेर, पहिले भएकै सम्झौतामा बस भनेर माग गर्ने यी मानिसको वरिपरि उठेको तरङ्गले अब एउटा अर्को चेतना जन्माउन लागेको म देख्छु ।
- अभि सुवेदी


डा क्टर गोविन्द केसी मेडिकल शिक्षा सुधारको माग गर्दै पन्ध्रौंपटक अनशन बसेको सत्ताइसौं दिनमा यो आलेख लेख्न बसेको क्षणजस्तो असहज, चिन्ताले आक्रान्त र अनिश्चित मेरो जीवनमा कहिल्यै अनुभव भएन । नेपालका लोकतान्त्रिक सरकारहरूसँग नेपालका गरिब जनताले पनि चिकित्सा शिक्षा पाऊन् र उपभोग गर्न पाऊन् भन्ने तिनको मागलाई शक्तिशाली दलहरू र सरकारहरूले बेवास्ता गर्दै आएको कथा नेपाली राजनीतिक इतिहासको एउटा विसंगत पाटोको रूपमा लेखिने पक्का भएको छ । जनमतका आधारमा बीपी कोइरालाको २०१५ सालको संसद्मा दुई तिहाइ जितेको सरकारपछिको दोस्रो शक्ति सम्पन्न सरकार हो यो । तर बीपीका पछाडि राजा महेन्द्र त्यही संविधानले प्रहार गरेर शक्ति लिन तयार थिए । अहिलेको सरकार काम गर्न स्वतन्त्र छ । विवेक प्रयोग गर्न स्वतन्त्र छ । र सबभन्दा जटिल विषय पनि विवेकको प्रयोग हो । आचार, सिद्धान्त र नैतिक विषयहरूले एकैसाथ काम गर्नुपर्ने हुनाले स्वतन्त्रता चुनौतीपूर्ण हुन्छ ।


अनिश्चित, प्रकम्पित र अभिघातले प्रताडित यो इतिहासका यी क्षणको मूल रहस्य के हो ? अहिले अघि कहिल्यै नगरिएका बहसहरू उठेका छन् । सबै मेडिकल डाक्टर, युवा र नागरिक समाज आन्दोलित छन् । यी दिनहरू हेरिरहेको मनुवाले देखेका र सुनेका कुराहरूले मलाई उथलपुथल गराएका छन् । केही होला, कसैले यी अभियन्ताका मागहरूको विशाल आयामलाई बुझेर केही सकारात्मक कदम चाल्नेछन् भन्ने आशा गरिबसेको हुँ म । मलाई भित्र विश्वास लाग्ने आधार, नढाँटी भन्छु, अहिले कमिनिस्टहरूको सरकार छ, त्यसैले विपन्न र टाढाका मानिसका निम्ति ज्यान जोखिममा राखेर अनशन बसेका ती डाक्टरका माग यिनीहरूले आफ्ना माक्र्सवादी सिद्धान्तसँग मिल्ने हुनाले पूरा गर्नेछन् भन्ने विश्वास थियो मेरो । तर बिस्तारै अलग किसिमका भाष्य, अलग तर्कहरू आउँदै गए । मलाई मनपर्ने लेखक, पहिलेको एमालेका एक मन्त्रीले बोलेको सुनँे अनि भत्किन थालेंँ । तिनले भने, ‘अब गोविन्द केसी सत्याग्रही रहनुभएन, अब उहाँ कांग्रेस भइसक्नुभयो ।’ मलाई चक्कर लाग्नु स्वाभाविक थियो ।


कांग्रेसले केसीको समर्थन गरेकाले त्यसो भनिएको रहेछ । कसले समर्थन गर्छन्, कसले विरोध गर्छन्, केसीको सम्बन्धमा त्यो मूल प्रश्न होइन, उनी के भन्दै छन् र कसका निम्ति कांग्रेस, कमिनिस्ट सबै सरकारहरूको शासनकालमा, तिनले मेडिकल र विश्वविद्यालयहरूलाई भर्तीकेन्द्र बनाएका विरोधमा लडिआएका छन्, त्यो मूल प्रश्न हो । त्यसपछि एक शीर्षनेताले के भन्नेहुन् भन्ने प्रतीक्षा थियो । तिनले बोलेपछि म पुरै भत्किएँ । मैले देश र विदेशमा यिनको विषयमा बोल्दा र लेख्दा यिनलाई सपना र युगसम्मत चेतनाका बाहक भनेको सम्झेंँ । लेखेको पनि छु । तिनमा प्रशंसा अनि नराम्रा गाली पनि पाएको हुँ । अनि एउटा ठूलो यथार्थ बुभेंँm । गोविन्द केसी किन जुम्लामा अनशन बस्न गएका रहेछन् । मैले त्यति पनि बुझेको रहेनछु । यी टाढाका नरनारीहरूले नेपालका समाजवादी आन्दोलनमा सहयोग गरे । ती विपन्न र राज्यद्वारा ठगिएका मानिसहरूले जसलाई सहयोग गरेका थिए, तिनीहरूले बिर्सिए । तिनीहरू राजधानीको नागर परिवेश, त्यसभित्रको एउटा पुँजीवादी माहोलमा हराए र अर्कै किसिमका मानिसहरूको रक्षाको निम्ति काम गर्न थाले । जुम्लीले अस्पताल पाउन्, मेडिकल शिक्षा पाउन् भन्ने यी डाक्टर त्यहाँ फर्किंदा त्यहाँका अदृश्य नारीहरू, वृद्ध र बालकहरू बाहिर आए । अब समयको गति अर्को भएछ, यताबाट उपेक्षितहरूकोमा कुनै पार्टीको एजेन्डा नबोकेका सत्याग्रही र मानवतावादीहरू हतियार होइन, रित्तो पेट लिएर त्यता पुग्ने बेला आएछ ।


समयले यी गान्धी सदृश अभियन्ताको जीवनमाथि लामै टिक्टिक् गर्‍यो । यस्ता सरल समाजवादी माग राखेर, पहिले भएकै सम्झौतामा बस भनेर माग गर्ने यी मानिसको वरिपरि उठेको तरङ्गले अब एउटा अर्को चेतना जन्माउन लागेको म देख्छु । त्यो अहिंसावादी छ । सत्याग्रही दर्शनमा उठेको छ । र कसैलाई घृणा होइन, परिवर्तन हुनसके तिमी ठिक छौ, केही बिग्रेको छैन, नभए समस्यामा पर्छाै भन्ने आह्वानले बनिन लागेको छ । गोविन्द केसीको वार्ता समूहका, हाम्रानिम्ति आफ्नो जीवन अर्पण गर्न तयार केसीका लागि धेरै कुरा छोड्न तयार छौं भन्ने डाक्टरहरू र त्यही समूहका अधिवक्ता ओमप्रकाश अर्यालले टीभीमा दिएका वार्ताहरू हेरेंँ ।


राजनेताहरूका केही आलम्बनका कडा आलोचना गरे पनि आफ्नो विचार बदलेर आउने, भुल सुधार गर्ने नेता र अरू व्यक्तिहरू ठिक हुन् र हुनसक्छन् भने उनले । र थपे, अनशन नबसे पनि हामी सत्यको निम्ति लड्ने सबै सत्याग्रही हौं । सत्यको जित हुन्छ, विडम्बनाहरू खुल्दै जान्छन्, हामी सबैमा असल कर्म गर्ने गुण विद्यमान हुन्छ, तर त्यो कर्म गर्नुपर्छ । सबैको जित हुन्छ, कोही हार्दैन भन्ने ती वाचाल वकिल, डाक्टरहरू, अरू युवाहरू, लेखक, जसमा पहिले माओवादीका नजिक रहेका युवक, उन्यासकार युग पाठक छन्, जसको लेख ‘व्यापारीको हातमा स्टेथेस्कोप ?’ (‘नयाँ पत्रिका’, १० साउन, २०७५) भर्खरै पढेको छु । नागरिक समाजका स्वतन्त्र मानिसहरूका बलिया विचारहरूले पहिले कहिल्यै नल्याएको तरङ्ग यसपालि ल्याएको छ । अब डा. केसीको सत्याग्रहको आयाम फराकिलो भएको छ । तिनका सत्याग्रहहरू रूपान्तरित भएर सिद्धान्तहरू जन्मिएका छन् । अब केसी महात्मा गान्धी सदृश भएका छन् । अधिवक्ता अर्यालले एउटा सम्वादमा भने, ‘आजको आतङ्कले आक्रान्त समयमा गोविन्द केसीको सत्याग्रह बलियो शान्तिको शक्ति हो ।’ तिनले थपे, ‘केसीको सत्याग्रहको महत्त्व वैश्विक छ । त्यस अर्थमा उनको जीवनले अब नेपालमा वैचारिक र भोलिको निम्ति एउटा कार्मिक युगको जग बसालिसकेको छ । यो बुझ्दा मन केही शान्त भएको छ ।’


गान्धीका विचार र शासनमा बस्ने र सरकार चलाउनेहरू, खासगरी नेहरू र कांग्रेसहरूको बीचमा सैद्धान्तिक द्वन्द्व भए । नेहरूका विशाल बाँधहरू बनाउने, पानीलाई लिएर महत्त्वाकांक्षी हुने, ठूला कारखाना खोल्ने कुराका गान्धी विरोधी थिए । नेहरूलाई यो बलियो प्रतिरोधले निकै असहज बनाएको कुरा इतिहास भन्छ । ‘स्मल इज ब्युटिफुल’ (१९७३) लेख्ने जर्मन अर्थशास्त्री सुमाखरले गान्धीका विचारको सार यसरी खिचे । अहिंसात्मक, सरल, सानो, पैसा बचाउने, ग्राममा आधारित, आत्मनिर्भर र काम पाउन सक्ने अर्थनीतिको अवलम्बन गर भन्ने गान्धीको भनाइ थियो । तर नेहरू र पटेल आदिहरूले मुक्ति संघर्षमा गान्धीकै विचार र नेतृत्व माने । गान्धीको हतियार सत्याग्रह थियो । त्यसको राजनीतिसँग सम्बन्ध थियो । केसीको सत्याग्रहमा अहिलेका राजनेताहरूले जतिसुकै अन्धाधुन्द राजनीतिक चरित्र देखेको गफ लाए पनि तिनका मागहरू अति ‘सरल, साना, पैसा बचाउने, अहिंसात्मक’ दर्शनले निर्देशित राजनीति इतर छन् । यसपालिको सत्याग्रहले नयाँ आयामहरू खोलिदिएको छ, जुन अस्पतालका अमूक कोठामा अनशन बस्ने गोविन्द केसीको अवस्थासँग मात्र सीमित रहेन ।


यही साउन २ गते कान्ति बाल अस्पतालमा संगीता थापाको निमन्त्रणामा कलाकारहरूले बालक बिमारीहरूको शान्तिको निम्ति गरिरहेका पेन्टिङहरूको प्रदर्शनमा बोल्न गएको थिएँ । युवा कलाकारहरूले बालकहरूसँग बसेर बनाएका कलाको प्रभाव धेरै बुझियो । अर्कै लेखको विषय हो । तर अस्पतालका डाइरेक्टर डा. गणेशकुमार राईले अस्पतालको हालत अत्यन्त दु:खित मुद्रामा परिचय गराएपछि म अत्यन्त विह्वल भएँ । बालक बिमारीले पिउने पानी छैन, तिनलाई राख्ने कोठा छैन, एकैसाथ राख्दा बिमार सरेको छ । उपचारको साधन कम हुँदै गएको छ । काम गर्नेलाई दिने तलब छैन । सबैतिरबाट घेरिएर धराशायी हुनलागेको जुम्लादेखिका बालकहरू उपचार गर्न आउने देशको यो एकमात्र बाल अस्पताल सबैका निम्ति अदृश्य रहनुले हामीलाई डा. गोविन्द केसी के भन्दैछन् भन्ने कुरा सुन्नैपर्ने आह्वान भएको छ । त्यसको दुई दिनपछि सुर्खेतका २ जनामध्येका एक बालरोग विशेषज्ञ डा. नवराज केसीले प्रधानमन्त्रीलाई लेखेको चिठी ‘कान्तिपुर’मा छापियो, जसमा उनले भनेका छन्, ‘म सरकारले पठाएको चिकित्सक होइन... यहाँ छु र रहनेछु ।’ उनले सोधेका छन्, ‘काठमाडौंमा ७ मेडिकल कलेज छन्...। हाम्रो प्रदेशमा १ पनि नहुने ? यो बाल मृत्युदर कसरी घट्ला ?’


अन्तत: २७ औं दिनमा डा. केसीले अनशन तोडेका छन्, नौबुँदे सहमति गरेर । म भावातीत भएर आशा गर्छु, अब अपूर्व उज्यालो दिन आउनेछ ।

विविधा

उत्तर कोरिया अर्को भियतनाम बन्ला ?

गत अप्रिल २७ मा भएको कोरियाली समिटमा किमले भियतनामको आर्थिक सुधारको प्रारूपलाई अवलम्बन गर्ने इच्छा व्यक्त गरेका थिए ।
- ली जोङ वा

दशकौंपछि कोरियाली प्रायद्वीपको कूटनीतिक मौनता भंग भएको छ । गत जुन महिनामा इतिहासमै पहिलोपटक उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भयो । उक्त भेटवार्तापछि दुई देशले संयुक्त वक्तव्य जारी गरे । जस अनुसार कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाइनेछ र त्यसको बदलामा अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी गर्नेछ ।


यस प्रगतिप्रति कोही खुसी छन् भने केही उत्तर कोरियाले इतिहासमा तोडेका वाचाहरू सम्झन सुझाइरहेका छन् । किम यो नयाँ उपलब्धिप्रति साँच्चिकै दृढ छन् भने यसबाट उनको
सत्तालाई फाइदा नै पुग्ने देखिन्छ । विश्वले नै उत्तरमाथि लगाएको आर्थिक प्रतिबन्ध हट्नेछ । र पूर्णरूपमा भत्किएको उत्तरको अर्थतन्त्र सुदृढ हुने दिशातर्फ अगाडि बढ्न सक्छ । यस्तोमा के उत्तर कोरियाले भियतनामलाई नमुनाका रूपमा ग्रहण गर्ला त ?


सन् १९८६ मा भियतनामले चीनमा तेङ सियाओ पिङले गरेझैं कम्युनिष्ट शासनमा बजारमुखी अर्थतन्त्र निर्माण गर्न आर्थिक सुधार नीति ‘डोइ मोइ’ अवलम्बन गर्‍यो । सरकारले कृषि सहकारी र कृषि उत्पादनमाथिको मूल्य नियन्त्रण हटायो, अनि कृषकहरूलाई जग्गाको स्वामित्व पनि दियो । सरकारले त्यहाँका धेरै कम्पनीहरूलाई निजीकरण गर्‍यो । वैदेशिक लगानी भित्र्याउन सहज हुने नियमहरू बनायो । निजी व्यापारलाई सहयोग पुग्ने वातावरण निर्माण गर्‍यो । निर्यात सामग्री प्रशोधन गर्ने क्षेत्र बनायो । र श्रमिक केन्द्रित उत्पादन उद्योगलाई बढावा दियो ।


३० वर्षको अवधिमा भियतनामको अर्थतन्त्र वार्षिक ६.७ प्रतिशतको दरले बढ्दै गयो । २०१७ को अन्त्यसम्ममा त्यहाँको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २ हजार ३ सय ४० डलर पुग्यो । निर्यात २ खर्ब १ अर्ब डरल नाघ्यो, जुन लगभग अष्ट्रेलिया र ब्राजिलको जति हो ।


दक्षिण कोरियाली ब्रान्ड सामसुङ लगायतका अन्तर्राष्ट्रिय ब्रान्डसँग भित्रिएका वैदेशिक लगानीले उक्त उपलब्धि हासिल गर्नका लागि महत्त्वपूर्ण भूमिका खेले ।


गत अप्रिल २७ मा भएको कोरियाली समिटमा किमले भियतनामको आर्थिक सुधारको प्रारूपलाई अवलम्बन गर्ने इच्छा जाहेर गरेका थिए । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि उत्तर कोरिया आर्थिक समृद्धि हासिल गर्न र अमेरिकासँगको सम्बन्ध सामान्य बनाउन भियतनामकै पथमा हिँड्ने उद्घोष गरेका थिए ।


विश्वमै सबैभन्दा एक्लिएको उत्तर कोरिया त्यस्तो सुधार गर्न तयार भयो भने पनि उसले कैयौं व्यावधानहरू सामना गर्नुपर्ने हुन्छ । उसको केन्द्रीय रूपमा सञ्चालित अर्थतन्त्र स्थिर भइसकेको छ । दक्षिण कोरियाको केन्द्रीय बैंकका अनुसार दशकयता उत्तरको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ३ सय डलर छ भने आर्थिक वृद्धि १ प्रतिशतभन्दा कम छ । प्रतिबन्धले त्यहाँको अर्थतन्त्रलाई ध्वस्त बनाएको छ ।


भलै उत्तर कोरियामा अर्थतन्त्रका आधारभूत आवश्यकताहरू भने यथेष्ट छन् । त्यहाँ पढेलेखेका कामदार छन्, प्राकृतिक स्रोतको उपलब्धता राम्रो छ, भौगोलिक अवस्थितिले प्राकृतिक रूपमै बन्दरगाह दिएको छ । ठूलो संख्यामा वैदेशिक लगानी तथा प्रविधि भित्र्याउन मद्दत पुग्नेगरी विस्तृत आर्थिक सुधार गरेमा भियतनामको जस्तो आर्थिक ‘चमत्कार’ गर्न उसलाई कठिन छैन । यस्तो उसले दुई अंकको आर्थिक वृद्धि हासिल गर्न सक्छ र ३० वर्षमा त्यहाँको प्रतिव्यक्ति आय १० हजार डलरसम्म पुग्न सक्छ । दक्षिण कोरियासँग सामान्य व्यापारिक नाता कायम गर्दै त्यहाँबाट सिधा लगानीमात्रै भित्र्याउनसके पनि उत्तरको कुल गार्हस्थ्य उत्पादन ३ प्रतिशतले बढ्छ ।


के उत्तर त्यो बाटो पहिल्याउन तयार छ त ? प्रमुख प्रश्न यही हो । किम पूर्ववर्ती शासकभन्दा केही सुधारका पक्षधर देखिन्छन् । उनको आन्तरिक नीति ‘बाइउङजिन’ अनुसार आणविक कार्यक्रम र आर्थिक वृद्धि सँगसँगै लैजानुपर्छ । किमको बुबाको नीति ‘सोनगन’ सैनिक पहिला भन्ने थियो । गत अप्रिलमा किमले ‘बाइउङजिन’को युग पनि समाप्त भएको र अब देशको स्रोतहरूमा केन्द्रित रहेर अर्थतन्त्रको पुनर्निर्माणमा लाग्नुपर्ने पार्टी बैठकमा बताएका थिए । तर त्यो भनाइप्रति उनी कति कटिबद्ध छन्, त्यो भने स्पष्ट छैन । उत्तरको अर्थतन्त्रबारे आधिकारिक जानकारी प्राप्त गर्ने कुनै माध्यम नभएकोले पनि अवस्था प्रस्ट नभएको हो ।


उत्तर कोरिया र भियतनामबीच तुलनात्मक भिन्नता छ । भियतनाममा जनताको मागलाई सामूहिक नेतृत्वले सम्बोधन गरेर कार्य गर्छ भने उत्तर कोरियामा एकतन्त्रीय शासन छ, जहाँ हरेक साना–ठूला निर्णय एक अप्रत्यासित तथा विवादास्पद व्यक्तिको मनस्थितिमा निर्भर गर्छ । त्यसो भन्दैमा आर्थिक सुधारका कामहरू हुँदैनन् भन्ने होइन । बस्, उत्तर कोरिया यदि भियतनामको पदचाप पछ्याउन चाहन्छ भने त्यहाँको राजनीति र अर्थतन्त्रमा स्थिरता आवश्यक छ ।


पहिलो त उत्तर कोरियाले आणविक निशस्त्रीकरणका लागि विश्वासिलो कदम चाल्न जरुरी छ । यसो नगरी त्यहाँ लगाइएको आर्थिक प्रतिबन्ध हट्नेवाला छैन । प्रतिबन्ध हटेसँगै दुई कोरियाबीच मानवीय, स्वास्थ्य र वातावरणीय मुद्दामा सहकार्य हुनसक्छ । यस्तै वर्षौंदेखि बन्द रहेको काइसोङको व्यापारिक भवन पनि सञ्चालनमा आउन सक्छ । सम्पूर्ण रूपमा प्रतिबन्ध हट्नका लागि उत्तर कोरियाले आणविक निशस्त्रीकरणलाई पूर्णरूपमा कार्यान्वयन गर्न जरुरी छ । त्यसपछि उत्तर कोरियाले विश्वका अन्य मुलुकहरूसँग पनि आर्थिक क्रियाकलाप बढाउन सक्छ । वैदेशिक लगानी भित्र्याउन सक्छ । आर्थिक साहयता प्राप्त गर्न सक्छ । विश्व बैंक र एडीबीबाट ऋण प्राप्त गर्न सक्छ । र सबैभन्दा महत्त्वपूर्ण छिमेकी दक्षिण कोरियाबाट पनि यी सबै सहयोग प्राप्त हुन्छ । यस्तै दक्षिण कोरियाली सरकारले अन्तर–कोरिया रेल, सडक र ऊर्जा सञ्जाल निर्माण गर्नेछ ।


यस्तो भएमा उत्तर कोरियाको दक्षिण कोरियासँगै जापान र अमेरिका लगायत अन्य एसिया–प्रशान्त अर्थतन्त्रसँगको सम्बन्ध आर्थिक परिवर्तनका लागि महत्त्वपूर्ण हुनेछ । यसले अहिले बन्द समाजमा उकुस–मुकुसपूर्ण जीवनयापन गरिरहेका उत्तर कोरियाली जनताको जीवनस्तरमा पनि सुधार हुँदै जानेछ ।


किमको सत्ताले गरेका मानव अधिकार उल्लंघनका शृङखलालाई सम्झने हो भने उत्तर कोरिया अझै लामो समयसम्म सामान्य देश बन्न कठिन छ । तर त्यसो भनेर रोकिने अवस्था छैन । उत्तरलाई नयाँ बाटोमा हिँडाउन तत्काल कार्य गर्न जरुरी छ । आणविक निशस्त्रीकरण मात्र नभएर विवेकपूर्ण र दिगो परिवर्तन उत्तर कोरियालाई आवश्यक छ । यससँगै ऊमाथि लगाइएका आर्थिक र कूटनीतिक प्रतिबन्ध फुक्का गर्दै लैजानु जरुरी छ ।


कोरियाली प्रायद्वीपमा हुने अर्को घटनाले हामी सबैलाई असर गर्न सक्छ । त्यसैले पनि अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियालाई अहिलेको यो समय आफ्नो पकडमा लिन,
आफ्नो स्रोत दुरुपयोग गरेर आणविक हतियार निर्माणमा लगाउन बन्द गर्न र बृहत आर्थिक सुधारका कार्यक्रमहरू अगाडि बढाउनका लागि दबाब दिन जरुरी छ ।


‘प्रोजेक्ट सिन्डिकेट’बाट अनुदित यस लेखका लेखक ली जोङ वा अर्थशास्त्रका प्राध्यापक तथा कोरिया विश्वविद्यालयको एसियाटिक रिसर्च इन्स्टिच्युटका निर्देशक हुन् ।

Page 7
विविधा

वैदेशिक रोजगार ‘स्वेच्छाको छनोट’

बर्सेनि ७ लाख वैदेशिक रोजगारीमा गइरहेका छन् । ५ वर्षमा यिनलाई नेपालमै रोजगारीका अवसर सिर्जना गरी विदेश जानु नपर्ने अवस्था ल्याउन राज्यले अघि सारेको ३ अर्ब १० करोड रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सम्भव होला त ?
- बसन्त कार्की

संसारको कुनै पनि देशले वैदेशिक रोजगारीबाट अपेक्षित फाइदा लिन र विकासको गतिलाई अगाडि बढाउन सकिरहेको छैन । यसको सबैभन्दा राम्रो उदाहरण फिलिपिन्स हो । जसको ६ दशकभन्दा लामो श्रम आप्रवासनको इतिहास छ । १० करोडभन्दा बढी जनसंख्या रहेको फिलिपिन्समा १ करोडभन्दा बढी वैदेशिक रोजगारीमा छन् । वार्षिक ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गरिरहेको फिलिपिन्सले कुल गार्हस्थ उत्पादनको तुलनामा १० प्रतिशत बराबरमात्र विप्रेषण प्राप्त गरिरहेको छ । तसर्थ वैदेशिक रोजगारीले देशको अर्थतन्त्रलाई फाइदा पुर्‍याउँदैन भन्ने तर्क भ्रममात्र हो ।


नेपालको सन्दर्भमा वैदेशिक रोजगारी राजनीतिक नेतृत्व र नीति निर्माण तहमा रहेका राज्य संयन्त्रहरूको गैरराजनीतिक नेतृत्वले नचाहँदा–नचाहँदै पनि समाजको एक अभिन्न अङ्ग बनिसकेको छ । हुन त कामको खोजीमा विदेशिने प्रवृत्ति नेपाली समाजको लागि नौलो होइन । तर पछिल्लो केही दशकदेखि फरक गन्तव्यमा राम्रो अवसरको अपेक्षामा जाने युवाहरूको संख्या वर्षेनि बढ्दो रहेकोले वैदेशिक रोजगार नीति निर्माता तहदेखि साधारण मानिसमा समेत बहसको विषय बनेको छ । आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटले वैदेशिक रोजगारलाई संघीय सरकारले केही प्रस्ट पार्न खोजेको छ । तर त्यो किसिमको दिशानिर्देश कतिसम्म वस्तुपरक र यथार्थमा आधारित छ भन्ने विवेचना हुनु जरुरी छ ।

 

रोजगारी र छनोटको अधिकार
धेरै समय अघिदेखि राजनीतिक वृत्त र विभिन्न पदमा रहेका नीति निर्माताहरूबाट विषयको गाम्भीर्यतालाई वास्तै नगरी वैदेशिक रोजगारीलाई बन्दै गर्नुपर्छ, विदेशमा नेपालीलाई काम गर्न जानै दिनुहुन्न भन्ने विचार औपचारिक तथा अनौपचारिक माध्यम/मञ्चहरूबाट आएका छन् ।


संघीय सरकारको यस वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने पूर्वसन्ध्यामा ‘अबको ५ वर्षमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई निषेध गरिने’ सञ्चार माध्यमहरूबाट सार्वजनिक भएका थिए । तर यस विषयमा जानकार र सचेत जनमानसबाट जुन किसिमको टिकाटिप्पणी हुनुपर्ने थियो, त्यो कतै देखिएन । नेपालको संविधान २०७२, भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३३ को उपधारा १ र २ ले प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक तथा रोजगारी छनोटको हकलाई सुनिश्चित गरेको छ । यही संविधानको जगमा शासन सञ्चालन गरिरहेकाहरूबाट आएका भनाइलाई गैरजिम्मेवारीपूर्ण भन्नु बाहेक अन्य विकल्प देखिँदैन । किनभने प्रत्येक नेपाली नागरिकलाई आफूले कस्तो रोजगारी गर्ने र रोजगारी स्वदेशमै गर्ने कि विदेशमा भन्ने छनोटको अहरणीय अधिकार संविधानले नै सुनिश्चित गरिदिएको छ ।

 

भाषण र कार्यक्रम बीचको तादात्म्यता
संघीय सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रममा भने यो विषय–वस्तुमाथि उल्लेखित अनौपचारिक भाषणभन्दा अलि फरक ढंगमा प्रस्तुत भएको देखिन्छ । नीति तथा कार्यक्रमको बुँदा २५ ले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको प्रभाव तथा महत्त्वलाई आत्मसात गर्दै ‘विप्रेषण र आयातमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्रमा रूपान्तरण गरिने’ महत्त्वाकांक्षा साँचेको छ । बुँदा ७९ मा ‘देशभित्रै रोजगारीका अवसर सिर्जना गरी ५ वर्षभित्र रोजगारीका लागि विदेश जानुपर्ने स्थितिको अन्त्य गर्ने’ नीति उल्लेख भएको छ । नीति अनुशरण गर्दै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयन गरी ५ वर्षभित्र देशभित्र रोजगार सिर्जना गरी रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य भनुँ या दिवास्वप्न यो सरकारले लिएको छ । नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको छनक आव २०७५/७६ को वार्षिक बजेटको बुँदा १३ अन्तर्गत किटान गरिएका बजेटका प्राथमिकताहरूमध्ये क्रमसंख्या (क) मा ‘सबै नागरिकलाई काम र रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्रहरूको प्रबद्र्धन गर्ने’ भन्ने प्राथमिकताले पुष्टि गर्छ । साथै बजेट वक्तव्यको क्षेत्रगत कार्यक्रम अन्तर्गत पहिलो क्षेत्रका रूपमा नै ‘काम र रोजगारी’ उल्लेख गर्नु सरकार यस विषयमा गम्भीर रहेको प्रमाणका रूपमा लिन सकिन्छ । बजेट वक्तव्यको बुँदा २२ मा ‘मुलुकभित्र थप रोजगारी सिर्जना गरी क्रमश: नेपालीलाई वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिने’ उल्लेख छ । उक्त कार्यक्रमका लागि आउने आवमा ३ अर्ब १० करोड रपैयाँ बजेट प्रतिबद्धतासमेत उल्लेख छ । त्यसै बुँदामा व्यावसायिक कृषि, सिंचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार र ३ वटै तहका सरकारका सार्वजनिक निर्माणका अन्य क्षेत्रलाई समेत यस कार्यक्रममा आबद्ध गरिनेछ ।

 

रोजगारीको अंकगणित
यी सबै नीतिगत दस्तावेज केलाउँदा सरकारको नेपाली नागरिकले रोजगारीका लागि विदेशिनुपर्ने स्थितिको अन्त्य गर्ने महत्त्वाकांक्षा पूरा हुने देखिन्छ त ? यस सन्दर्भमा अरू केही थप तथ्यांक केलाउनु आवश्यक हुन्छ । नेपालको प्रचलित कानुनले परिभाषित गरेको र तोकेको प्रक्रिया अनुसार विगत ५ वर्षमा मात्र २२ लाख ५६ हजार १९३ जना नेपाली नयाँ कामको खोजीमा वैदेशिक रोजगारीमा गएका छन् । यसमा भारतमा काम खोज्न/गर्न जाने लाखौं नेपालीका टाउका गनिएका छैनन् । विगत ५ वर्षको तथ्यांकले प्रक्रिया पूरा गरी वार्षिक रूपमा ४–५ लाख नेपाली नयाँ कामदारका रूपमा विदेशमा काम गर्न गएको देखिन्छ । त्यसमाथि आफ्नो करार अनुसार छुट्टीमा स्वदेश फर्की श्रम स्वीकृति नवीकरण गरी पुन: विदेश जाने कामदारको संख्या पनि पछिल्लो ३ वर्षदेखि वार्षिक रूपमा २ लाखभन्दा माथि छ । अहिले वर्षेनि ६–७ लाख नेपाली प्रक्रियागत ढंगमा कामका लागि विदेशिइरहेका छन् भने प्रक्रिया बाहिरबाट विदेशिनेको संख्या यकिन छैन ।


श्रम बजारमा वर्षेनि भित्रिने ४ लाख ५० हजार नवप्रवेशीमध्ये वैदेशिक रोजगारीमा नगई स्वदेशमै केही गर्छु भनी बसेका युवाहरूका लागि पनि रोजगारी सिर्जना गर्नुपर्ने यथार्थ राज्यका सामु छँदैछ । के श्रम बजारमा रोजगारीका लागि भौंतारिने यो संख्यालाई ५ वर्षमा लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रमले स्वदेशमै रोकिराख्न सम्भव होला ?

 

वैदेशिक रोजगारीको अर्थशास्त्र
नीति निर्माता तहले सधैं वैदेशिक रोजगारीका बेफाइदामात्र देख्ने गरेको भए तापनि एउटा कुरामा भने सन्तुष्टि प्रकट गर्ने गरेको पाइन्छ । त्यो हो– देशभित्र हुने विदेशी मुद्राको प्रवाह । नेपालमा विप्रेषण प्रवाहको विगत ५ वर्षको तथ्यांकलाई हेर्दा वार्षिक ४ खर्ब ३४ अर्ब रुपैयाँबाट सुरु भएर अघिल्लो आर्थिक वर्षमा ६ खर्ब ९५ अर्ब रुपैयाँ पुग्यो । चालु आर्थिक वर्षमा विप्रेषण प्रवाहले ७ खर्बको सीमा छिचोल्ने सम्भावना देखिएको छ । यो तथ्यांकमा अनौपचारिक माध्यम तथा व्यक्तिगत रूपमा भित्रिएको विप्रेषण समावेश भएको छैन । देशको कुल गार्हस्थ उत्पादनसँंग विप्रेषणलाई तुलना गरेर हेर्दा कुल गार्हस्थ उत्पादनको २५–३० प्रतिशतको बीचमा विप्रेषण भित्रिएको पाइन्छ, जुन तथ्यले देशको अर्थतन्त्रको आकारको अनुपातमा विप्रेषण भित्र्याउने प्रमुख ३ मुलुकहरूभित्र नेपाल अटाइरहेको छ ।


सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको कटु यथार्थ ‘विप्रेषण तथा आयातमा आधारित अर्थतन्त्र’लाई पुष्टि गर्न अघिल्लो आर्थिक वर्ष नेपालले कुल आयातको ७१ प्रतिशत रकम भुक्तानीका लागि विप्रेषणबाट प्राप्त विदेशी मुद्राको प्रयोग भएको तथ्य पर्याप्त हुन्छ । कुल आयात धान्न विप्रेषणको योगदान अघिल्ला २ वर्षमा त अझै ८० प्रतिशतभन्दा माथि रहेको देखिन्छ ।


वैदेशिक रोजगारीको यो अर्थशास्त्रलाई केन्द्रमा राखेर हेर्दा भाषणबाटै भए पनि यसलाई निषेध गर्नेतर्फ सरकारले एकपटक गहन रूपमा मन्थन गर्नु आवश्यक छ । संघीय सरकारको वर्तमान अर्थतन्त्रलाई रूपान्तरण गर्ने सोच जुन समयानुकूल छ, त्यसतर्फ अग्रसर हुन दीर्घकालीन रणनीतिक योजना र पर्याप्त लगानी अपरिहार्य छ । यसै सन्दर्भमा राज्यले वैदेशिक रोजगारीमा जानका लागि नेपालीलाई निरुत्साहित गर्ने वा वैदेशिक रोजगारी जाने व्यक्ति र राज्य दुबैलाई प्राप्त हुने लाभलाई अधिकतम बनाउने भन्ने २ विकल्पमध्ये यथार्थ धरातलमा बसेर स्पष्ट रूपमा एउटा विकल्प समात्नुु आवश्यक छ ।

 

आर्थिक तथा मनोसामाजिक असर
समग्र रोजगारीका सन्दर्भमा राज्यका नीति, कार्यक्रम तथा क्रियाकलाप हेर्दा नीति निर्माताहरूको बुझाइ केमा केन्द्रित छ जस्तो लाग्छ भने देशमा आवश्यक रोजगारी वा जीविकोपार्जनका अन्य पर्याप्त अवसर नभएका कारणले नै युवा जमात वैदेशिक रोजगारीमा लागिरहेका छन् । यो परिकल्पना सीमित हदसम्म मात्र सत्य छ । पक्कै पनि केही तह र तप्काका मानिस अवसर नपाएको कारणले विदेशिन बाध्य छन् । यो सत्य बढी मात्रामा सुदूर र मध्यपश्चिमका विशेषगरी पहाडी जिल्लाबाट बिहान–बेलुकीको गर्जो टार्नैमात्र भए पनि भारत पस्न बाध्य धेरैका लागि बढी लागु हुन्छ । तर विडम्बना, राज्यको विद्यमान कानुनी परिभाषाले उनीहरूको रोजगारीलाई ‘वैदेशिक’ मान्दैन । वैदेशिक रोजगारीमा जान नेपालीलाई प्रेरित गर्ने महत्त्वपूर्ण पक्ष हाम्रो समाजले कामको सम्मान नगर्नु हो । केही कथित सेवा क्षेत्रका रोजगारीलाई छाडेर बाँकी सबै कामलाई तल्लो दर्जामा राखेर हेरिन्छ । सवारी चालक, सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्ट्रिसियन, सुरक्षा गार्ड, कुक, वेटर जुनसुकै काम गरे पनि त्यो तल्लो स्तरको हुने र चिन्ने–जान्नेले फलानो त यस्तो काम पो गर्दोरहेछ भन्ने हुनाले यहाँ रोजगारी गरी आफ्नो जीवनयापन चलाइरहेकाहरू पनि विदेश जान लालायित देखिन्छन् । तर विदेश गएर त्यस्तै काम गर्ने गरेको भए पनि त्यसलाई कसैले पनि बहसको विषय बनाउँदैनन् । बहस हुन्छ त खालि उसले कति पैसा कमायो वा कमाएन भनेर । नेपालमै रोजगारीमा संलग्न हुँदाहँदै पनि वैदेशिक रोजगारीमा जाने क्रममा रहेका धेरैसंँगको अन्तरक्रियामा त्यसरी जान खोज्नुको महत्त्वपूर्ण कारण आम्दानी, खर्च र बचत बीचको तालमेल नमिल्नु पनि हो ।


धेरैले नेपालमा जति कमाए पनि एक रुपैयाँ पनि जोगाउन सकिएन । त्यसैले विदेश जान खोजेको तथ्य उजागर गरेका छन् । नेपालमा नियमित आम्दानी गरिरहे पनि अनियन्त्रित र नियमित रूपमा बढिरहने जीवनयापन लागत, सामाजिक जिम्मेवारी लगायतले आम्दानी र खर्चबीच तालमेल मिलाउन कठिन बनाएका कारण वैदेशिक रोजगारीमा गइरहेका छन् । रोजगार हुँदाहँुदै विदेशिनुको अर्को कारण न्यूनतम आवश्यकता पूर्ति गर्ने तलब/ज्याला प्राप्त नहुने, रोजगारदाताले समयमै तलब/ज्याला नदिने र कार्यस्थलमा दुव्र्यवहार हुनेजस्ता कारण पनि जिम्मेवार छन् । समग्रमा यी सबै सम्मानजनक रोजगारीका अवयव हुन्, जसको अभावमा रोजगारीमा संलग्न वा त्यसका लागि पर्याप्त अवसर हुँदाहुँदै पनि ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन् ।


यता आफूले सुरु गरेको पेसा वा व्यवसाय छाडेर वैदेशिक रोजगारीमा गएको पाइन्छ । कृषि, पशुपालन वा साना व्यवसाय गरेर बसेकाहरूलाई विशेषगरी परिवार र समाजले पढेलेखेको भएर पनि के यस्तो काम गरेर बसेको ? नेपालमा यस्तो काम गरेर कहिले उँभो लाग्ने ? वल्लो घर पल्लो घर, नातागोता सबैले विदेश गएर कमाइरहेका छन् । यस्ता मनोसामाजिक दबाबले स्वदेशमै बसेर जीवनयापन गर्छु भन्ने ठूलो जमातलाई वैदेशिक रोजगारीमा जान बाध्य बनाइरहेको छ । दिगो रोजगारीको अभाव र विकल्पमा के गर्ने भन्ने सीप र ज्ञानको कमीले धेरै नेपालीले वैदेशिक रोजगारीलाई प्रमुख विकल्पका रूपमा लिएको पाइन्छ । वैदेशिक रोजगारीमा गएका धेरैलाई स्वदेशमै फर्केर केही गर्ने तीव्र इच्छा हँुदाहँुदै पनि पुन: वैदेशिक रोजगारीमै फर्किनुपर्ने बाध्यताका पछाडि त्यस्तै विकल्पहरू देखाइदिने र आवश्यक प्राविधिक सहयोग पुर्‍याउने संयन्त्रको अभाव प्रमुख कारण हो । रोजगारी सिर्जनामा आधारित सार्वजनिक विकास निर्माणमा संलग्न कामदारहरूसँंगको अन्तरक्रियामा रोजगारीको समाप्तिपछि के गर्ने भन्ने प्रश्नमा यहाँ दु:ख गरेर कमाएको पैसा लगानी गरेर विदेश जाने भन्ने उत्तर धेरैजनाबाट सुनियो । यस्तै उत्तरहरू स्वदेशभित्रै अन्य क्षेत्र वा पेसामा संलग्न भई आय आर्जन गरिरहेकाहरूबाट सुन्न पाइन्छ । तसर्थ समग्रमा हेर्दा वैदेशिक रोजगारीमा जानु भनेको देशभित्र रोजगारीका अवसरहरू नहुनु नै प्रमुख कारण होइन ।

 

स्वरोजगारको सोच नहुँदा
देशमा पर्याप्त रोजगारीका अवसर नहुनु नै नेपालीहरू वैदेशिक रोजगारीमा जानुको मूल कारण बनेको छ । नेतृत्वले आर्थिक तथा मनोसामाजिक पक्षले वैदेशिक रोजगारीको प्रवृत्तिलाई धेरै हदसम्म निर्देशित गर्छ भन्ने तथ्यलाई नजरअन्दाज गरेको देखिन्छ । रोजगारी भन्ने बित्तिकै ज्याला वा तलबमा काम गर्ने अवसरको सिर्जना भन्ने बुझाइले हाम्रा नीति निर्माताहरूलाई गाँजेको छ । त्यसैको उपज हुनसक्छ, राज्यको नीति तथा कार्यक्रममा रोजगारी सिर्जना सर्वत्र प्राथमिकतामा परेको देखिन्छ र स्वरोजगारी प्रबद्र्धन विरलै देख्न पाइन्छ । १४ औं आवधिक योजनाले ‘उत्पादनशील रोजगारी उन्मुख र न्यायपूर्ण वितरणसहितको उच्च आर्थिक वृद्धिद्वारा द्रुत गरिबी न्यूनीकरण गर्दै आर्थिक–सामाजिक रूपान्तरण गर्नु’लाई मूल उद्देश्य मानेको छ । त्यसका लागि उक्त दस्तावेजमा १३२ स्थानमा ‘रोजगारी’ शब्दको प्रयोग भएबाट त्यसलाई महत्त्व दिएको बुझिन्छ । त्यसको तुलनामा ‘स्वरोजगारी’ शब्दको प्रयोग जम्मा ३४ पटकमात्र उल्लेख भएको छ । उक्त योजनाले रोजगारी प्रत्याभूतिलाई क्षेत्रगत विकास नीति अन्तर्गत राखी काम र रोजगारीको प्रत्याभूतिबाट नागरिकको जीवनस्तर सुधार र सशक्तीकरण गर्ने सोच राखेको छ । त्यसका लागि किटान गरिएका ९ वटा प्रमुख कार्यक्रममध्ये एउटामात्र स्वरोजगार प्रबद्र्धनमा केन्द्रित छ । सरकारका अन्य नीति तथा कार्यक्रम पनि प्राथमिक रूपमै रोजगारी सिर्जनामा केन्द्रित देखिन्छ ।


बेरोजगार जनतालाई आवश्यक रोजगारी सिर्जना गर्न कठिन देखिन्छ । देशको अर्थतन्त्रको आकार, भूराजनीतिक अवस्थिति, भौगोलिक अवस्था, उपलब्ध प्राकृतिक स्रोतसाधन, तुलनात्मक लाभका क्षेत्र सबैको यथार्थ विश्लेषण गर्दा आवश्यकताको अनुपातमा रोजगारी सिर्जनाको सम्भावना कम देखिन्छ । रोजगारीको दाँजोमा स्वरोजगारीका अवसरहरू बढी उपलब्ध हुने सम्भावना रहेको हुँदा राज्यको प्राथमिकतामा रोजगारी र स्वरोजगारीको प्रबद्र्धनले बराबर स्थान पाउनु आवश्यक छ ।


अब लागौं वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने सरकारको नीति तथा त्यसलाई सहयोग पुर्‍याउने लक्षित कार्यक्रमतर्फ । वर्षमा लगभग ७ लाख व्यक्ति वैदेशिक रोजगारीमा गइरहेका छन् । यिनलाई ५ वर्ष भित्रमा नेपालमै रोजगारीका अवसर सिर्जना गरी विदेश जानु नपर्ने अवस्था ल्याउन राज्यले आगामी वर्ष कार्यान्वयन गर्नलागेको ३ अर्ब १० करोड रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सम्भव होला त ? हुन त यसका लागि सरकारले व्यावसायिक कृषि, सिंचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार र तीनै तहका सार्वजनिक निर्माणका अन्य क्षेत्रलाई समेत रोजगारी सिर्जनाका उद्देश्यमा प्रयोग गर्ने उल्लेख गरेको छ । तर उल्लेखित क्षेत्रहरूमा सरकारको लगानीबाट रोजगारी सिर्जना गर्ने कार्यक्रम नयाँ होइन, धेरै वर्ष अघिदेखि रोजगारी बढाउने उद्देश्यसाथ उक्त क्षेत्रहरूमा राज्यको लगानी बढिरहेको छ । त्यसका बाबजुद पनि वैदेशिक रोजगारीमा जाने क्रम घटेको तथ्यांकले कतै देखाउँदैन । यसको एउटै कारण वैदेशिक रोजगारीभित्र लुकेको आर्थिक तथा मनोसामाजिक पक्षको सही विश्लेषण नगरी हचुवाका भरमा विशेषज्ञता देखाउने र नीति तथा कार्यक्रमलाई त्यसै अनुसार ढाल्ने प्रवृत्ति हो ।


दोस्रो पक्ष, सरकारको विप्रेषण र आयातमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने नीति एकदमै राम्रो छ । तर त्यसतर्फ अग्रसर हुन त्यति सहज छैन । राज्यको प्रयासले मात्र यो हुन सक्दैन र नेपालको निजी क्षेत्र अझै पनि बामे सरिरहेको अवस्थामा छ । समग्र अर्थतन्त्रको अवस्थालाई हेर्दा आउने ५ वर्षमा त के १० वर्षमा पनि यस दिशातर्फ उल्लेख्य प्रगति हुने देखिँंदैन । विगत ३ वर्षको आर्थिक तथ्यांकलाई हेर्दा कुल आयातको तुलनामा निर्यातको अनुपात १३ प्रतिशतबाट घटेर अघिल्लो आर्थिक वर्षमा ८.४ प्रतिशतमा सीमित हुनपुगेको छ । निर्यातको तुलनामा आयातको बढोत्तरी हेर्दा पछिल्लो ३ वर्षमध्ये भारतको अघोषित नाकाबन्दीका कारणले आव २०७२/७३ मा मात्र अघिल्लो वर्षको तुलनामा ७.४ प्रतिशतले आयात घटेको देखिन्छ । नत्रभने आयातको वृद्धिदर वार्षिक ८ प्रतिशतभन्दा माथि छ । अघिल्लो आवमा यो ३० प्रतिशतले बढेको थियो । यसरी निरन्तर रूपमा निर्यात घटिरहेको र आयात बढिरहेको स्थितिमा रोजगारी बढाउन कठिन र चुनौतीपूर्ण छ । यस्तो विषम आर्थिक परिवेशमा आयातको कुल रकमको ७० प्रतिशतभन्दा बढी रकम भुक्तानीका लागि आवश्यक विदेशी मुद्राको जोहो गरिदिने वैदेशिक रोजगारीलाई तत्कालै निरुत्साहन गर्ने सोच राख्नु देशको समग्र अर्थतन्त्रका लागि प्रत्युत्पादक हुनेछ ।

 

विकल्प के ?
कुनै पनि व्यक्तिलाई जसरी भए पनि आफू र आफ्नो परिवारको सहज जीवनयापनको सवाल सबैभन्दा महत्त्वपूर्ण हुन्छ । त्यो सहजता हासिल गर्न प्रजातान्त्रिक राज्यमा उसले आफ्नो देशभित्र वा बाहिर जहाँ राम्रो अवसर पाउँछ, त्यहीं गएर रोजगारी वा जीविकोपार्जनको अवसर लिन खोज्छ । श्रम आप्रवासन अहिलेको विश्वब्यापी अवस्था हो । फरक यतिमात्र हो कि कोही आफ्नो इच्छाले देश छाडेर हिँडिरहेका छन् भने धेरैजसो चाहिँ उक्त विकल्प रोज्न बाध्य छन् । अविकसित तथा विकासशील देशहरूबाट सम्मानजनक कामको खोजीमा अधिकांश मानिस विकसित देशहरूतर्फ यात्रारत छन् । तर अर्को सत्य के पनि छ भने विकसित देशहरूबाट पनि उल्लेख्य संख्यामा मानिसहरू तुलनात्मक रूपमा कम विकसित देशहरूमा रोजगारी वा अन्य अवसरका लागि आइरहेका छन् । उदाहरणको रूपमा खाडीमा नेपालीहरूको पहिलो गन्तव्यको रूपमा रहेको कतारलाई लिन सकिन्छ । आधिकारिक तथ्यांक अनुसार सन् २०१५–२०१६ को १ वर्षमा कतारमा विकसित २१ देशका लगभग ७४ हजार नागरिक विभिन्न पेसा/व्यवसायमा संलग्न रहेका थिए । जुन कुल आप्रवासी जनसंख्याको झन्डै ३ प्रतिशत हुन आउँछ । त्यस मध्ये संयुक्त अधिराज्यका सबैभन्दा धेरै २५ हजार नागरिक रहेका छन् । अर्को मुख्य गन्तव्य संयुक्त अरब इमिरेट्समा संयुक्त अधिराज्यका १ लाख २० हजार, संयुक्त राज्य अमेरिकाका ५० हजार र क्यानाडाका ४० हजार नागरिक विभिन्न पेसा/व्यवसायमा संलग्न रहेको एक तथ्यांकले देखाएको छ । त्यही तथ्यांकले संयुक्त अरब इमिरेट्समा ३ लाख नेपाली रहेको उल्लेख गरेको छ । यसरी हेर्दा श्रम आप्रवासन र राम्रो अवसरको खोजीमा अविकसित देशहरूबाट मात्र नागरिकहरू बाहिरिरहेका छैनन्, विकसित देशहरूबाट पनि मानिसहरू बाहिरिरहेका छन् । भलै तिनको संख्या केही सानो होस् । यसले के पनि जनाउँछ भने अवसर उपलब्ध हुँदैमा मानिसहरू मुलुकबाट नबाहिरिने होइन । जहिले पनि ‘उपयुक्त वा अझै राम्रो’ अवसरका लागि मानिसहरू विदेशिन्छन् र त्यसलाई कुनै पनि प्रजातान्त्रिक मुलुकले कहिल्यै पनि रोक लगाउन सक्दैन ।


श्रम आप्रवासनलाई राज्यको आवश्यकताभन्दा पनि व्यक्तिको आवश्यकतासंँग नजिक राखेर हेर्नु उपयुक्त हुन्छ । देशमा उपलब्ध स्रोतसाधन, विद्यमान अर्थतन्त्र र आर्थिक वातावरण, राज्यको प्राथमिता र नागरिकको तत्कालको आवश्यकता, भूराजनीतिक अवस्थिति र प्राकृतिक परिस्थिति सबैको उपजले अझै लामो समयसम्म नेपालले वार्षिक रूपमा श्रम बजारमा आउने नयाँ श्रमशक्ति र अहिलेसम्म सञ्चित हुनपुगेको आर्थिक रूपमा सक्रिय मानवस्रोतलाई देशभित्रै रोजगारी र आर्थिक उपार्जनका पर्याप्त अवसर उपलब्ध गराउन असम्भव छ । त्यसैले अझै केही वर्षका लागि संघीय राज्यको नीति तथा कार्यक्रम वैदेशिक रोजगारी निरुत्साहित गर्नेभन्दा पनि वैदेशिक रोजगारीमा प्रत्यक्ष संलग्न व्यक्ति, उसको परिवार र समग्रमा राज्यले त्यसबाट प्राप्त हुने फाइदालाई कसरी अधिकतम गर्ने भन्नेतर्फ केन्द्रित हुनु आजको आवश्यकता हो । यसका लागि राज्यको नीति तथा कार्यक्रमलाई यथार्थपरक र विश्वासयोग्य बनाउन जरुरी छ ।


देशभित्रै व्यापक रोजगारीका अवसरहरू सिर्जना गरी ५ वर्षभित्र रोजगारीका लागि विदेश जानुपर्ने स्थितिको अन्त्य गर्ने भन्ने आधारहीन भाषणभन्दा वैदेशिक रोजगारीको अहिलेको आवश्यकतालाई स्वीकार्दै उपयुक्त र विश्वासिलो कार्यक्रमसहित वैदेशिक रोजगारीलाई ‘बाध्यता होइन, स्वेच्छाको छनोट’ बनाउनेतर्फ राज्यको ध्यान जानुपर्छ । त्यसका लागिमात्र प्रधानमन्त्री रोजगार कार्यक्रम रामवाण हुन सक्दैन । पर्याप्त आर्थिक स्रोतसहित स्वरोजगारलाई प्रबद्र्धन गर्ने थप कार्यक्रम सुरु गर्नु आवश्यक छ ।
कार्की अन्तर्राष्ट्रिय श्रम संगठनको नेपाल कार्यालयसंँग आबद्ध छन् । उनका यी विचार निजी हुन् ।

विविधा

तथ्यांक खेलाँची होइन

तथ्यांक अर्थात गणितले सधैं सत्य बोल्छ । तर हामी कि गलत तथ्यांकबाट निदृष्ट भइरहेका छौं वा यसको गलत प्रयोग गरिरहेका हुन्छौं ।
- गोपाल गुरूङ

अहिले देशैभरि विभिन्न तहका नयाँ सरकारहरू छन् ।


देश विकास र जनताको उन्नति गर्नुपर्ने ठूलो दायित्व उनीहरूमाथि छ । तर कतिपय स्थानीय सरकारसँग आफ्नो पालिकाको सीमामा आधारित जनसंख्या बाहेक अरू तथ्यांक खासै छैन । त्यसैले स्थानीय तहहरूले आधारभूत तथ्यांक संकलन गरिरहेका छन् । यस्तो तथ्यांक आगामी चुनावमा जनप्रतिनिधिको कार्याकाल मापन गर्ने राम्रो आधार पनि हुनेछ ।


केन्द्रीय तथ्यांक विभागले हालै ‘राष्ट्रिय आर्थिक गणना–२०१८’ को प्रारम्भिक काम सकेको छ । विभागले ७७ जिल्लामै कार्यालय स्थापना गरी औपचारिक र अनौपचारिक प्रतिष्ठान र व्यवसायको विवरण संकलन गरेको छ । यो प्रारम्भिक काम संघीय तथा स्थानीय सरकारले करको दायरा बढाउने घोषणा गरिरहँदा भएको थियो । त्यसले गर्दा गणकहरूलाई केही असहज भयो । तर आर्थिक गणनाको तथ्यांक कर प्रयोजनका लागि नभएको प्रस्ट पारिएको थियो ।


संविधानको अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै स्थानीय सरकारहरूले पनि आफ्ना घरधुरीसम्मको तथ्यांक संकलन गर्दैछन् । तथ्यमा आधारित नीतिगत योजना तर्जुमा गर्न र प्रस्ट नतिजा मापन गर्ने यो कार्य आफंैमा सराहनीय छ । चुनावका बेला गरिएका वाचा पूरा गर्न यो एउटा अग्रगामी कदम हो । तथ्यांक अर्थात गणितले सधैं सत्य बोल्छ । तर हामी कि गलत तथ्यांकबाट निदृष्ट भइरहेका हुन्छौं वा तथ्यांकको गलत प्रयोग गरिरहेका हुन्छौं । सही तथ्यांकको उचित प्रयोग गर्नु जरुरी छ । अहिले पालिका स्तरमा गरिने तथ्यांक संकलनमा अपनाइने विधि, प्रश्नावली, गणक छनोट आदिको गुणस्तरमा ध्यान दिनु आवश्यक छ । हरेक पालिकाका फरक–फरक भौगोलिक, सांस्कृतिक, सामाजिक, भाषिक विशेषता छन् । त्यही अनुरूप प्रश्नावली निर्माण गर्नुपर्ने हुन्छ । तथ्यांक संकलन पश्चातको विश्लेषण तथा प्रतिवेदन प्रकाशन र बेला–बेलामा गर्नुपर्ने तथ्यांक अद्यावधिकको पद्धतिमा एकरूपता हुनु जरुरी छ । अन्यथा प्रतिवेदन पाठक र प्रयोगकर्तामाझ पठनीय नहुन सक्छ ।


स्थानीय, प्रादेशिक अनि संघीय निकायबाट प्रकाशन हुने प्रतिवेदन तुलनात्मक विश्लेषण गर्न प्रयोगकर्ता सक्षम नहुन सक्छन् । तथ्यांक संकलन र अद्यावधिक कार्य अत्यधिक खर्चिलो र समयमा सम्पन्न नहुन सक्छ ।


आर्थिक गणनाको रिपोर्ट चरणबद्ध रूपमा आउनेछ र यसले समग्र नेपालको आर्थिक परिदृश्यको फराकिलो रूप अगाडि ल्याउने विश्वास गर्न सकिन्छ । कुल गार्हस्थ्य उत्पादनको मापन नजिक पुग्नेछ । पालिका, जिल्ला अनि प्रदेशका आर्थिक इकाइको वैधानिक स्थिति, सूचीकरण, त्यसमा काम गर्ने श्रमिक संख्यामा आधारित आर्थिक इकाइको वर्गीकरण, प्रतिष्ठानको स्वामित्व, वार्षिक कारोबारको आँकडा इत्यादि आउनेछ ।


पालिका र प्रदेशका प्रोफाइलले सम्भावनाका क्षेत्रहरू उजागर गर्नेछन् । आन्तरिक तथा बाह्य लगानीकर्ताहरू तथ्यलाई आधार मानेर लगानी गर्न सक्नेछन् । संघीय तथा प्रादेशिक सरकारले त्यस अनुरूप लगानी भित्र्याउने नयाँ कानुन तथा भौतिक संरचना निर्माण गर्न सक्नेछन् । निजी क्षेत्रले त्यस अनुरूप जनशक्ति उत्पादन गर्न पाउनेछन् । यसले लगानीको जोखिम घट्न गई कुल उत्पादनको लगानी घट्न जानेछ । उत्पादित वस्तु तुलनात्मक रूपमा सस्तो र प्रतिस्पर्धी हुनेछ । प्रदेशले लगानी भित्र्याउने आधार तथ्यपरक हुनेछ । लगानीकर्ताले आफ्नो उद्देश्य अनुरूप सुविधा भएको स्थान, उपलब्ध जनशक्ति र उत्पादित वस्तुको बजार र वितरण प्रणाली, विद्यमान कानुनलाई आधार मानेर लगानीको प्राथमिकता साथसाथै योजना तर्जुमा गर्न सक्नेछन् । प्रदेश—प्रदेश र पालिका—पालिकाबीच लगानी भित्र्याई विकासको काम द्रुतगतिमा गर्ने प्रतिस्पर्धाका कारण निश्चय पनि विकासले गति लिनेछ ।


विभागसँग विभिन्न खाले गणना र सर्वे सफलतापूर्वक सम्पन्न गरेको लामो सूची छ । तथ्यांक उपयोगका हिसाबले स्थानीय तहमा उसको उपस्थिति भने अझै सशक्त छैन । आर्थिक गणनाको प्रस्तुतिले स्थानीय तथा प्रदेशमा संवादको नयाँ सुरुवात हुनसक्छ ।


संकलित तथ्यका आधारमा विभागले सार्वजनिक गर्ने प्रतिवेदन आफैं सम्पूर्ण भने होइन । यी तथ्यांकमा आधारित रहेर पुन: निश्चित सूक्ष्म विश्लेषण गरिनुपर्छ । जबसम्म यसलाई निश्चित उद्देश्यका साथ विश्लेषण गर्ने आधारभूत क्षमता स्थानीय सरकार र संघ–संस्थाले राख्दैनन्, तबसम्म ती कागजका खोस्टामात्र सावित हुनेछन् । तसर्थ केन्द्रीय तथ्यांक विभाग, प्रादेशिक र स्थानीय सरकार, विश्वविद्यालय, अनुसन्धनात्मक संघ–संस्था, निजी क्षेत्रले उपलब्ध प्रतिवेदनलाई समयमै विश्लेषण गरेर समष्ट राष्ट्रको विकासमा उपयोग गर्न विशेष पहलकदमी लिनुपर्ने देखिन्छ ।

Page 8
शैली

‘गुरुबिना संगीत अपूर्ण’

‘संगीत गुरुमुखी विद्या हो । जतिसुकै किताब पढ्नुस् वा शास्त्र सिक्नुस्, गुरुबिना संगीत सिक्न गाह्रो छ । संगीतकर्मीलाई गुरुको सान्निध्य चाहिन्छ नै । हामीले गुरुको आदर गर्नुपर्छ ।’
- कान्तिपुर संवाददाता
राजधानीको कालिकास्थानमा रहेको श्रुति संगीत विद्यालयमा (दायाँबाट) तबलावादक राम आश्रय, गायन गुरु चण्डिप्रसाद काफ्ले, गायक शिव परियारलगायत ।

काठमाडौं - गायिका संगीता प्रधान राना केहीअघि समस्यामा थिइन् । उनका श्रीमान् किशोर रानाको मृगौला प्रत्यारोपण गर्नुपरेकाले ठूलो रकम जोहो गर्नुपर्ने भयो । कसरी जम्मा पार्ने ? सोचमग्न भइरहेकै बेला उनका विद्यार्थीहरू भेट्न आए । तिनले भने, ‘नआत्तिनुस् म्याम, हामी सहयोग गर्छौं ।’ त्यो क्षण संगीता भावुक बनिन् । अहिले उनी भन्छिन्, ‘त्यो नै मेरा लागि सबैभन्दा ठूलो गुरुदक्षिणा थियो ।’


पछिल्लो दुई दशकदेखि पद्मकन्या क्याम्पसमा संगीत पढाउँदै आएकी उनी हरेक गुरुपूर्णिमाका दिन विद्यार्थीलाई आशीर्वाद दिन व्यस्त हुन्छिन् । शुक्रबार पनि दिनभर उनलाई फोन गर्ने र भेट्न आउनेको लर्को थियो । अमेरिकाबाट गायक नरेन्द्र प्यासीले सम्झिए भने अस्ट्ेरलियाबाट विमला भुसालले गुरुमालाई ‘विस’ गरिन् । ‘हामीलाई चाहिने भनेकै माया, श्रद्धा र आदर त रहेछ,’ संगीता भन्छिन्, ‘गौरव महसुस हुन्छ ।’ गुरुपूर्णिमाकै दिन पारी उनलाई चेलाचेलीले कुर्ता सुरुवाल, घडी, चप्पल र गितार उपहार दिने गरेका छन् ।


अर्का संगीतगुरु चण्डिप्रसाद काफ्ले भने विद्यार्थीको श्रद्धा ग्रहण गरेर शुक्रबार दिउँसो आफ्नै गुरु चन्दनकुमार श्रेष्ठलाई भेट्ने हतारोमा थिए । अरू बेला टाढा भए पनि गुरुपूर्णिमाका दिन गुरुको आशीर्वाद लिनैपर्छ भनेर उनी फटाफट काम सिध्याइरहेका थिए । ‘संगीतमा गुरुचेलाको सम्बन्ध घनिष्ठ हुन्छ,’ उनले कान्तिपुरसँग भने, ‘यो गुरुमुखी विद्या हो । जतिसुकै किताब पढ्नुस् वा शास्त्र सिक्नुस्, गुरुबिना संगीत सिक्न गाह्रो छ । संगीतकर्मीलाई गुरुको सान्निध्य चाहिन्छ नै । हामीले गुरुको आदर गर्नुपर्छ ।’


काफ्लेका अनुसार, यो क्षेत्रमा उपयुक्त गुरु भेट्न भने मुस्किल छ । आफूले विसं २०४२ देखि २०५२ सम्म गुरु खोज्दै हिँड्नुपरेको बताउने उनी असल गुरुले मात्रै शिष्यलाई पार लगाउन सक्ने ठान्छन् । उनीसँग शिव परियार, राज सिग्देल, जुनु रिजाल, सहिमा श्रेष्ठजस्ता गायकगायिकाले संगीत अध्ययन गरेका छन् । यी विद्यार्थीले आफ्नो नाम लिँदा निकै खुसी लाग्ने काफ्लेको अनुभव छ । ‘हामीले सिकाएको मनन गरेर विद्यार्थीले आफ्नो कला निखार्दै लगेमा हामी खुसी हुन्छौं,’ उनले भने, ‘त्यो हाम्रा लागि वास्तविक उपहार हुन्छ ।’


विसं २०१० मा उस्ताद गणेशलाल श्रेष्ठसँग संगीतको ज्ञान लिएका वरिष्ठ गायक प्रेमध्वज प्रधान गुरु सम्झिन गुरुपूर्णिमा कुर्नु नपर्ने बताउँछन् । उनले हरेक दिन बिहान साधना गर्नुअघि गुरुहरूलाई सम्झिने गरेको बताए । ‘म उठ्नेबित्तिकै आधा घण्टा ध्यान गर्छु,’ उनले भने, ‘त्यही बेला मेरी आमा (प्राणदेवी), गणेश गुरु र जयदेव गुरुको स्मरण गर्छु । उहाँहरूको नाम लिएर मेरो दिन सुरु हुन्छ ।’ आफूले कसैलाई औपचारिक शिक्षा नदिएकाले गुरुपूर्णिमामा खासै कसैको फोन नआउने बताए ।


कुनै पूर्णिमामा गुरुलाई उपहार दिने, भेट्न जाने वा फोन गर्नेजस्ता गतिविधिबाट टाढा रहे पनि गुरुको सल्लाह अनुसरण गर्न आफू सदैव सचेत रहने गरेको गायिका सुनीता दुलाल बताउँछिन् । ‘म आज जुन ठाउँमा छु, यहाँसम्म पुर्‍याउने जस गुरुहरूलाई जान्छ,’ उनले भनिन्, ‘उहाँहरूले बाटो देखाइदिनुभयो । काँडा पन्छाउन सिकाउनुभयो । धेरै जना गुरुसँग संगीत सिकेकाले धेरै खालको अनुभव हासिल गर्न पाएकी छु ।’ उनले दीपक जंगमसँग लोक भाका सिक्नुका साथै धनबहादुर गोपालीसँग शास्त्रीय संगीत र प्रकाश गुरुङ एवं संगीता प्रधानसँग पनि कक्षा लिएको बताइन् ।


सुनीताले गुरुहरूलाई भेटघाट नगरे पनि शुक्रबार बिहानै सामाजिक सञ्जालमा उनीहरूका तस्बिर राखेर ढोग गरेको उल्लेख गरेकी थिइन् । गायक शिव परियारले गुरु चण्डिप्रसादसँग खिचेको आफ्नो तस्बिर र उनले गुरु मानेका अन्य स्रष्टाको तस्बिर एकासाथ पोस्ट गर्दै ‘गुरुज्यूमा नमन’ लेखेका थिए । शिवले चन्दनकुमार श्रेष्ठसँग शास्त्रीय गायन, रविनलाल श्रेष्ठसँग तबला र राजकुमार मालाकारसँग गितार वादन सिकेका रहेछन् ।


सामाजिक सञ्जालमार्फत आफ्ना गुरु सम्झिने क्रममा गायिका आस्था राउतले मातापितालाई पहिलो गुरु मान्दै संगीतकार सुरेश अधिकारी आफ्नो सांगीतिक गुरु भएको लेखेकी थिइन् । आस्थाका बुबा हरिबहादुर पनि गायक हुन् । अभिभावक र संगीत गुरुसँगको तस्बिर अपलोड गरेकी आस्थाले आफू सांगीतिक परिवारमा जन्मनु भाग्यको कुरा भएको उल्लेख गरेकी थिइन् । गायक प्रवेशमान शाक्यले दिवंगत पिता पन्नाकाजीको तस्बिर राखेर ‘हयाप्पी गुरुपूर्णिमा’ लेखेका थिए । संगीतज्ञ अम्बर गुरुङलाई ‘बडागुरु’ भन्दै गुरुङका चेला भायोलिनवादक राजकुमार श्रेष्ठसँग संगीत सिकेका दिवाकर वस्तीले दुवैप्रति फेसबुकमार्फत नमन गरे । राजकुमारसँगै भायोलिन सिकेका गायक मदन गोपालले ‘हयाप्पी गुरुपूर्णिमा’ लेख्दै राजकुमार तथा गायनगुरुहरू कुशेश्वर राई र प्रभुराज ढकालसँगका तस्बिर पोस्ट गरेका थिए ।

शैली

मनैदेखि रंगमञ्च

- कान्तिपुर संवाददाता
सर्वनाम थिएटरका संस्थापक अशेष मल्ल चेलाहरूलाई टीका लगाइदिँदै। 

काठमाडौं (कास)– गलाभरि खादा, निधारमा टिका । मिठाई खाँदैमा रंगकर्मी सुनील
पोखरेलको शुक्रबार बित्यो । आफ्ना चेलाचेलीबीच रंगकर्मका अनुभव साट्न पाउँदा उनी अरू दिनभन्दा विशेष खुसी थिए । गुरुपूर्णिमाका दिन उनका लागि दसैंभन्दा महत्त्वपूर्ण लाग्छ । अनामनगरस्थित ‘ज्ञ’ डिस्कभर योरसेल्फ थिएटर टिममा बिहानैदेखि उनी विद्यार्थीमाझ रमाए । उनले सबै विद्यार्थीलाई एउटा प्रश्न गरे– ‘तिमीहरूको विचारमा गुरु भनेको के हो ?’
उनको प्रश्नमा चेलाचेली केहीबेर गम्भीर भए । केहीले कानेखुसी गर्न थाले । यस्तैमा युवा रंगकर्मी केनिपा सिंहले छोटो उत्तर दिइन्, ‘जसले जसलाई जे सिकाउँछ त्यही नै गुरु हो ।’

केनिपालगायत थुप्रै युवा रंगकर्मीले यसरी नै सुनीलको प्रश्नको जवाफ दिने प्रयास गरे । खासमा उनले विद्यार्थीको मनोविज्ञान बुझ्न प्रश्न गरेका थिए । आफूले सिकाएका विद्यार्थीले आफ्नो प्रशंसा पटक्कै नगरिदिए हुन्थ्यो भन्ने उनको सदैव अपेक्षा हुन्छ । हरेक गुरुपूर्णिमाको दिन सुनीलले विद्यार्थीलाई ‘रंगमञ्च मनदेखि नै गर’ भन्दै एउटै आशीर्वचन दिँदै आएका छन् । उनी रंगमञ्चको मुलसूत्र नै ‘मनैदेखिको काम’ लाई मान्छन् ।


पाका रंगकर्मी हरिहर शर्मा समकालीन नेपाली रंगमञ्चका गुरुका पनि गुरु हुन् । उनलाई शुक्रबार बिहानैदेखि गुरुपूर्णिमाको शुभकामना दिनेको घुइँचो थियो । लाजिम्पाटस्थित आफ्नै घरमा चेलाचेली भेट्न आउने क्रम त थियो नै साथै फोनमा समेत आशीर्वाद माग्नेहरू उत्तिकै थिए । सुनील पोखरेल सधंैजसो गुरुपूर्णिमा मनाउन सबैभन्दा पहिला हरिहरकहाँ पुग्ने गर्थे । यो पटक कामको व्यवस्तताले उनले आफ्ना गुरुलाई फोनबाटै शुभकामना दिए । ‘पहिलो फोन नै सुनीलले गरेका थिए,’ हरिहरले भने, ‘आफ्ना चेलाले सम्झिँदा खुसीले गद्गद् हुन्छ ।’ वरिष्ठ रंगकर्मी शकुन्तला शर्मा र हरिहरको जोडीले हरेक वर्ष घरमा आएजति चेलाचेलीलाई टीका लगाएर आशीर्वचन दिने गरेका छन् । ‘आफूले सिकाएका विद्यार्थीले प्रगति गरेको देख्दा एक किसिमको स्वर्गीय आनन्द महसुस हुन्छ,’ शकुन्तलाले भनिन् । शुक्रबार बिहानै रंगकर्मी वीरेन्द्र हमाल, रंगकर्मी घिमिरे युवराज, सरोज अर्याललगायतले हरिहर र शकुन्तला भेट्न गए । हरिहरलाई सुर्खेतबाट बिहानै रंगकर्मी गणेश गौतमले पनि फोन गरे ।

रंगकर्मी सुनील पोखरेल अन्य कलाकारसँग ।


अर्का वरिष्ठ रंगकर्मी अशेष मल्ल बिहानै कालिकास्थानस्थित सर्वनाम थिएटर आइपुगे । एकैछिनमा उनको गला फूलमालाले भरियो । चेलाचेलीहरूले खासमा उनलाई झुक्काएर गुरुपूर्णिमा मनाउन बोलाएका थिए । गुरुपूर्णिमासम्बन्धी भने अशेषको भिन्न मत छ । उनका अनुसार माला र टीका लगाउँदैमा गुरुको पूजा भएको मानिँदैन । मुख्य कुरा ज्ञानको हस्तान्तरण हो । त्यही भएर उनी बाहिरी देखावटी तामझामबाट सदैव टाढा बस्न रुचाउँछन् । तर, यसपटक विद्यार्थीले झुक्काएर उनको गलामा माला पहिर्‍याइदिए । चेलाचेलीलाई टीका लगाइदिँदै अशेषले सबैलाई एउटै आशीर्वचन दिए, ‘कर्म गर फलको आशा नगर ।’ रंगमञ्चमा यो भनाइ बढी नै लागू हुन्छ । पछिल्लो पुस्ता साधना सुरु नगर्दै परिणामको आश गर्ने प्रवृत्तिका हुने हुँदा यो बुझाइ मनन गर्न आवश्यक रहेको उनको तर्क छ ।


सर्वनामकै राज शाहले अशेषलाई आफ्ना गुरु मान्छन् । उनले यो खुसी फेसबुकमा सार्वजनिक रूपमा सेलिब्रेट गरे । युवा रंगकर्मी सुदाम सिकेले गुरु अनुप बरालको भिडियो फेसबुकमा सेयर गरे । माला र टीकामा सजिएका अनुपको गुरुवचन भिडियोमा कैद गरिएको छ । जहाँ उनले नयाँपुस्ते रंगकर्मीलाई सपना देख्न आग्रह गरेका छन् । सपनालाई साकार पार्न साधना अनिवार्य हुने उनको तर्क छ ।

शैली

साहित्यिक गुरुदक्षिणा

- कान्तिपुर संवाददाता
कवि/निबन्धकार पूर्ण वैद्यलाई सम्मान गर्ने कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, संस्कृतिविद् प्रा. सुवर्ण शाक्य लगायत ।

ललितपुर (कास)– नेपालभाषाका आधुनिक कविता क्षेत्रका अग्रणी कवि/निबन्धकार मानिन्छ पूर्ण वैद्यलाई । वैद्यले झन्डै पाँच दशकअघि तत्कालीन रत्नराज्य गल्र्स क्याम्पसमा नेपालभाषा पढाएका थिए । तिनताक उनका विद्यार्थीहरू थिए, अहिलेका स्रष्टा प्रतिसरा सायमीदेखि मोतीलक्ष्मी शाक्य, मनदेवी ताम्राकारलगायत ।


यी तीनै जनाले शुक्रबार आफ्ना गुरुलाई नयाँ पुस्तक समर्पण गर्दै गुरुपूर्णिमा मनाए । प्रतिसराले नेपालभाषाकै कविताकृति ‘प्रेसरकुकरया चिल्लाय्’, मोतीलक्ष्मी र मनदेवीले क्रमश: कथा कृति ‘तिमिलाया जलय्’ र ‘लयँ खनागु पला’ वैद्यलाई साक्षी राखेर लोकार्पण गराए । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, संस्कृतिविद् प्रा. सुवर्ण शाक्य, कवि नारायणदेवी श्रेष्ठ, आख्यानकार मथुरा सायमि, कथाकार सुवर्णकेशरी चित्रकार, समालोचक प्रा. प्रेमशान्ति तुलाधरलगायतले कृतिको लोकार्पण गरे । पछि वैद्यलाई पुस्तक हस्तान्तरण गरियो ।


नेपालभाषामा लेखिएका यी कृतिहरूले मातृभाषा साहित्यको भण्डारमा इँटा थप्ने काम गरेको संस्कृतिविद् जोशीले बताए । माृतभाषा जोगाउन साहित्य चाहिने दावी गर्दै उनले भने, ‘तर हामीमा भाषाप्रतिको जागरण नै छैन ।’ कार्यक्रममा रिता महर्जन र गोविन्द हयुमतले गीत गाए भने सुसन्दीप शाक्यले बजाएको बाँसुरीको तालमा राजु राजोपाध्यायले स्वस्ति–वाचन गरेका थिए ।

शैली

हिन्दी भाषामा सरिता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कवि सरिता तिवारीको कविता कृति ‘प्रश्नहरूको कारखाना’ हिन्दी भाषामा अनुवाद भएको छ । तीन वर्षअघि प्रकाशित कृतिको ‘सवालों का कारखाना’ को रूपमा हिन्दी संस्करण आएको हो । प्रमोद धितालले अनुवाद गरेको हिन्दी संस्करण परिकल्पना प्रकाशनले छापेको हो । समकालीन नेपाली कवितालाई हिन्दीभाषी पाठकहरूको माझमा पुर्‍याउन तिवारीको कविताकृति अनुवाद गरिएको धितालले बताए । ‘तुलनात्मक रूपमा हिन्दी साहित्य नेपालमा लामो समयदेखि पढिँदै आएको भए पनि भारतीय पाठकमाझ नेपाली साहित्यले स्थान पाएको देखिँदैन,’ धितालले भने, ‘त्यस्तो अवस्थामा अनुवादमार्फत नेपाली साहित्यको विस्तारमा थोरै सहयोग पुग्छ कि भन्ने आशा हो ।’


धितालले समकालीन नेपाली कवितामा प्रतिरोधी चेतनासहित कविता लेखिरहेका २५ कविका सिर्जनाको पनि अनुवाद भइरहेको जनाए । परिकल्पना प्रकाशनका सत्यम बर्माले एउटै सभ्यता र मिल्दोजुल्दो संस्कृति भए पनि नेपाल र भारतबीच साहित्यिक आदानप्रदान कम हुँदै आएकोले अनुवाद कृतिलाई पनि प्राथमिकतामा राखेको बताए ।

शैली

आस्थाको गजलकृति

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– दसवर्षे जनयुद्ध क्रममा उनी ६ वर्ष भूमिगत भइन् । उति बेलैदेखि उनले फुटकर कविता र गजलकार लेख्न थालिन् । यति बेला भने आस्था केसी एकमुष्ट गजल कृतिसहित आएकी छन् । सञ्चारकर्मी समेत रहेकी आस्थाको ‘उज्यालोको खोजी’ गजलकृति हालै राजधानीमा गजलकार ललिजन रावलले लोकार्पण गरे । रुवाइ, गीत र गजल संग्रहका लेखक प्रदीप थापाले लेखन विधामा एकदम कलिलो भए पनि लेखनमा निरन्तर लागिरहने बताए । लेखक थापाले रचनामा मायाप्रेमसम्बन्धी बढी लेखिने भएकाले आफूले पनि यस्तै विषयलाई बढी जोड दिएको बताए ।


विसुखर्क गुल्मीकी केसीले आफू १५/१६ वर्षको उमेरमा जनयुद्धमा लाग्दादेखि नै गीत, कविता र गजल लेख्न थालेको बताउँदै बल्ल एकमुष्ट कृति ल्याउने अवसर मिलेको बताइन् । केसीले हिजो आफूहरू वर्ग मुक्तिको यात्रामा लागेको र आज पनि साहित्य र पत्रकारिताको माध्यमबाट निमुखाको प्रतिनिधिको रूपमा लागिरहने प्रतिबद्धता जनाइन् । पुस्तक कन्दरा पब्लिकेशन्सले छापेको हो ।

शैली

सिड्नीमा सप्तपरी

- कान्तिपुर संवाददाता

अस्ट्रेलिया (कास)– महिला सशक्तीकरण र महिलाहरूको हकअधिकारका लागि सिड्नीमा आयोजना हुने कार्यक्रम ‘सप्तपरी’ मा सहभागिता जनाउन नेपालका सात कलाकार अस्ट्रेलिया आइपुगेका छन् । शनिबार सिड्नीको टाउन हलमा हुने कार्यक्रममा सहभागिता जनाउन अभिनेत्री वर्षा राउत, स्वस्तिमा खड्का, बेनिसा हमाल नृत्यांगना अलिसा राई, पूर्व मिस नेपाल निकिता चाण्डक, दुवै आँखा नदेख्ने तर समाजमा अलग छाप छोड्न सफल सृष्टि केसी र गायिका रजिना रिमाल बिहीबार सिड्नी आइपुगेका हुन् ।


आ–आफ्नो विधामा सफल बनिसकेका ७ महिलालाई महिला सशक्तीकरण र हकअधिकारका विषयमा विशेष कार्यक्रम गर्न निमन्त्रणा गरिएको आयोजकले बताएको छ ।
अस्ट्रेलियामा रहेर नेपाली कलाको क्षेत्रमा काम गर्दै आएको संस्था नेपिण्डोले आयोजना गरिरहेको कार्यक्रमको मुख्य उद्देश्य नै आफ्नो क्षेत्रमा अलग स्थान बनाएका महिलालाई बोलाएर महिला सशक्तीकरण तथा हकअधिकारको पक्षमा आवाज उठाउने रहेको बताइएको छ । आयोजक संस्थाकी संस्थापक उषा बरिया पोखरेलले अहिलेसम्म महिलाहरूका बारेमा आवाज मात्र उठाउँदै आइएको भए पनि यो कार्यक्रमले महिला सशक्तीकरण र हकअधिकारको क्षेत्रमा विशेष छाप छोड्ने बताइन् । उनले कार्यक्रममा सहभागी सबै महिला आफ्नोआफ्नो क्षेत्रमा सफल रहेकाले यहाँका महिलालाई उनीहरूको प्रस्तुतिले प्रोत्साहन दिने दाबी गरिन् ।


आयोजकका अनुसार कार्यक्रममा सृष्टि केसी, निकिता चाण्डकले प्रेरणादायी प्रवचन दिनेछिन् भने अभिनेत्रीहरूले आफ्नोआफ्नो प्रस्तुति दिनेछन् । उनीहरूले महिला हकअधिकारका बारेमा समेत छलफल गर्नेछन् । यसैगरी कार्यक्रममा आएकी गायिका रजिना रिमालले सांगीतिक प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिनेछिन् । ‘कार्यक्रमको नाम सप्तपरी राख्नुको मुख्य उद्देश्य नै फरक विधाका सात महिलाको माध्यमबाट विशेष सन्देश दिने नै हो,’ बरियाले कान्तिपुरसँग भनिन् ।


कार्यक्रममा नेपालको परम्परागत पोसाकको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली ढाकामा विशेष फेसन परेडको समेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ । नेपाली फेसन डिजाइनर मुक्ता श्रेष्ठको कोरियोग्राफीमा हुने उक्त फेसन परेडमार्फत सहभागीहरूलाई नेपाली परम्परागत पोसाकको नयाँ फेसनको बारेमा जानकारी उपलब्ध हुने दाबी आयोजकको छ । यसैगरी कार्यक्रमबाट संकलित १० प्रतिशत रकम नेपालमा असहायहरूका लागि काम गरिरहेका संस्था जीवन उत्थानलाई प्रदान गरिनेसमेत बताइएको छ ।

Page 9
स्वास्थ्य

लामखुट्टेले टोक्दा छालामा एलर्जी

‘लामखुट्टेले टोकेका ठाउँमा धेरै कन्याउनु हँुदैन । कन्याए घाउ हुन सक्छ, पछि पाक्न पनि सक्छ ।’
- अतुल मिश्र

केही वर्षयता लामखुट्टे पहाडसमेत चढ्न थालेका छन् । यसैले मधेस मात्र हैन, पहाडमा समेत विभिन्न रोग मात्रै सरेका छैनन्, छालामा हुने एलर्जीको समस्याले दु:ख पाउनेहरूसमेत बढेका छैन ।


बर्सेनि बर्खायाममा हाम्रो मुलुकमा लामखुट्टेका कारण उत्पन्न हुने र थुप्रै रोग सञ्चार हुने अनुकूल परिस्थिति निर्माण बनिरहेको छ । लामखुट्टेले टोकेपछि एलर्जी हुनुका साथै यसले कडा रूपले बिरामी पार्न सक्ने केही भाइरस र परजीवीलाई बोक्ने गरेको छ ।


‘लामखुट्टेले छालामा टोक्दा धेरै चिलाएर डाबर, सुन्निने आदि हुने गर्छ,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन् ।


यस्तो डाबर केही दिनमै आफंै हराउने गरे पनि कहिलेकाहीँ छालाको ठूलो सतहमा सुन्निने, रातो भई दुख्ने हुन्छ । लामखुट्टेले टोकेपछि यस्तो प्रतिक्रिया बालबालिकामा बढी हुन्छ । कहिलेकाहीँ भने लामखुट्टेले टोकेपछि तीव्र एलर्जी (एनाफेलेक्सिस) समेत हुन सक्ने उल्लेख गर्दै डा. कर्ण भन्छन्, ‘एनाफेलेक्सिस तीव्र एलर्जीसम्बन्धी प्रतिक्रिया हो, जसले सम्पूर्ण शरीरलाई प्रभावित गर्छ । यो चिकित्सासम्बन्धी आकस्मिक अवस्थासमेत हो ।’


अमेरिकन एकेडेमी अफ एलर्जी आस्थमा एन्ड इम्युनोलजी (एएएएआई) का अनुसार, लामखुट्टेले रगत सम्बन्धी रोग मात्र सार्दैन, सबैभन्दा नराम्रो अवस्थामा लामखुट्टेको टोकाइले एनाफाइलेक्सिस पनि उत्पन्न हुन सक्छ । यो ज्यान जोखिममा पर्ने अवस्था हो । यसमा घाँटी सुन्निनु, माहुरीको चाकाजस्तो डाबर देखिनु, बेहोस हुने वा स्वाँस्वाँ गर्ने अवस्था देखिन सक्छ । लामखुट्टेको टोकाइबाट हुन सक्ने दुर्लभ अवस्था हो यो । यस्तो अवस्थामा तुरुन्त आकस्मिक उपचार आवश्यक हुन्छ ।


लामखुट्टेका हजारौं प्रजाति हुन्छन् । पोथी लामखुट्टेले मात्र मानिस र जनावरलाई टोकेर रगत चुस्छ । पोथी लामखुट्टेलाई फुल पार्न रगतका माध्यमले प्रोटिन र फलाम चाहिने भएकाले यसो गरेको हो । लामखुट्टेले हाम्रो छालालाई छेडेर रगत चुस्न आफ्नो मुखको भागलाई उपयोग गर्छ । लामखुट्टेको दाँत हँुदैन ।


गर्मी, प्रकाश, पसिना, शरीरको गन्ध, ल्याक्टिक एसिड र कार्बन डाइअक्साइडका कारण पोथी लामखुट्टेलाई छालातर्फ आकर्षित हुने गर्छ । पोथी लामखुट्टेले मुखको भागलाई साना रक्तनलीमा छिराएर त्यसमा र्‍याल पसाउँछ र रगत चुस्न थाल्छ । लामखुट्टेको र्‍यालमा भएको रसायनले रगतलाई जम्न दिँदैन अनि छालामा रातोपन देखिने, सुन्निने र चिलाउने हुन्छ ।
रगत चुसेपछि पोथी लामखुट्टेले पानी जमेको भएको ठाउँ खोजेर त्यहाँ फुल पार्छ । भाले लामखुट्टे एक सातादेखि १० दिन बाँच्छ भने पोथी लामखुट्टे थुप्रै सातासम्म बाँच्न सक्छ । केही पोथी लामखुट्टे जाडो याममा शीत निद्रा (हाइबरनेट) मा जान्छन् र महिनांै बाँच्न सक्छन् ।


लामखुट्टेले छालामा टोकेको ठाउँमा चिलाउने र सुन्निने हुन थाल्छ । यो हाम्रो रोगप्रतिरोधी प्रणालीले लामखुट्टेको र्‍यालविरुद्घ देखाएको प्रतिक्रिया रहेको डा. कर्ण बताउँछन् । लामखुट्टेले टोकेपछि हुने सबैभन्दा सामान्य प्रतिक्रिया हो यो । एकदुई दिनमै चिलाउने र सुन्निने कम हुँदै जान्छ ।


लामखुट्टेले टोकेका ठाउँमा कालामाइन लोसन दिनमा दुईतीन पटक लगाउन सकिने उल्लेख गर्दै डा. कर्ण भन्छन्, ‘लामखुट्टेले टोकेका ठाउँमा धेरै कन्याउनु हँुदैन । कन्याए घाउ हुन सक्छ, पछि पाक्न पनि सक्छ ।’

 

उपचार
यदि लामखुट्टेले टोकेका कारण तपाईंमा एनाफेलेक्सिस अर्थात् तीव्र एलर्जीसम्बन्धी प्रतिक्रिया देखिएको छ भने तुरुन्त आकस्मिक उपचार आवश्यक हुन्छ । सामान्य छ भने, केही प्रक्रिया अपनाएर त्यसलाई हटाउन सकिन्छ ।


यसका लागि, सुन्नाइ र दुखाइ कम गर्न शरीरको प्रभावित भागमा बरफ लगाउन सकिन्छ । प्रभावित क्षेत्रमा औषधि पसलमा पाइने लोसनसमेत लगाउन सकिन्छ ।
छालामा उठेका फोकालाई साबुनपानीले धुनुपर्छ । यसरी धुँदा फोका फुटाउनु हुन्न ।


लामखुट्टेले टोकेका ठाउँमा चिलाउन घटेको छैन भने, चिकित्सकीय सल्लाहमा ‘टोपिकल स्टेरोइड’ र मुखबाट खाने ‘एन्टिहिस्थामिनिक’ औषधि खान सकिने डा. कर्ण बताउँछन् ।
लामखुट्टेले टोकेका ठाउँ झन्झन् सुन्निइरहेको छ भने वा त्यो क्षेत्र संक्रमित भएको लागे तुरुन्त चिकित्सककहाँ सल्लाह लिनुपर्छ ।

 

लामखुट्टेले नटोकोस् भन्न
शरीरलाई राम्ररी ढाक्ने : लामखुट्टेबाट जोगिन घरबाहिर बस्दा लामो बाहुला भएका लुगाफाटो, लामो पाइन्ट र मोजा लगाउनुपर्छ । पातलो रेसादार लुगा लगाउँदा यसको माथि बसेर समेत लामखुट्टेले टोक्न सक्छ । यसैले सकेसम्म बाक्ला लुगा वा पातला लुगामाथि लामखुट्टे भगाउने पर्मेथ्रिन जस्तो स्प्रे छर्किनु फाइदाजनक हुन्छ । तर पर्मेथ्रिनलाई प्रत्यक्ष रूपमा छालामा छर्कनु हँुदैन ।


घरलाई लामखुट्टे प्रतिरोधी बनाउने : घरका झयालढोका, भेन्टिलेसन आदिमा तारजाली लगाएर लामखुट्टे नछिर्ने बनाउनुपर्छ ।


घरछेउमा लामखुट्टे प्रजननस्थल हुन नदिने : निरन्तर रूपमा घरछेउमा पानी जम्न दिनु लामखुट्टेलाई फुल पार्न प्रोत्साहित गर्नु बराबर हो । यसैले घर छेउछाउमा पानी जम्ने ठाउँ राख्नु हँुदैन ।


झुल टाँग्ने : बढी मात्रामा लामखुट्टे भएको ठाउँमा सुत्दा झुलको उपयोग गर्नुपर्छ । बालबालिकालाई सुताउँदा दिउँसोसमेत झुलको उपयोग गर्नु फाइदाकारी हुन्छ ।

 

कसलाई बढी टोक्छ लामखुट्टेले ?
हामीमध्ये केही व्यक्तिले आफूलाई अन्यको दाँजोमा लामखुट्टेले बढी टोक्ने गुनासो गर्छन् । यो सही कुरा हो । चिकित्सा तथ्यपत्र अनुसार, केही व्यक्तिको शरीरमा यस्तो रसायनको बढी निर्माण हुन्छ, जसले लामखुट्टेलाई आकर्षित गर्छ ।


लामखुट्टेको टाउकामा आँखा र एन्टिना हुन्छ । यसले एन्टिनाले तापक्रम, गन्ध र केही रसायनको पहिचान गरेर आफ्नो सिकारसम्म पुग्छ ।


हाम्रो सासबाट निस्किने कार्बन डाइअक्साइड ग्यास र शरीरको गन्धले पनि लामखुट्टेलाई हामीसम्म पुर्‍याउन सघाउँछ । दिनहुँ ननुहाउने, शरीरमा बढी ब्याक्टेरिया भएकाहरूलाई समेत लामखुट्टेले बढी टोक्छ । केही व्यक्तिको शरीरको गन्धले बढी आकर्षित गर्ने भएकाले उनीहरू लामखुट्टेको टोकाइमा बढी पर्छन् ।


गर्भवती महिला, बढी तौल भएकाहरूलाई लामखुट्टेले बढी टोक्छ । यस्तै, मद्यपान गर्नेहरूलाई लामखुट्टेले बढी टोक्छ ।
अनुसन्धानमा देखिएअनुसार, ‘ओ’ रक्त समूह भएकाहरूलाई लामखुट्टेले बढी टोक्ने गरेको छ ।


यस्तै लामोलामो सास फेर्नेहरूलाई पनि लामखुट्टेले बढी टोक्छ ।


तपाईंको छालामा जति बढी ल्याक्टिक एसिड हुन्छ, लामखुट्टे तपाईंतर्फ त्यति नै बढी आकर्षित हुने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘केही अनुसन्धान
अनुसार बियर खाएकाहरूलाई अन्यको दाँजोमा लामखुट्टेले बढी टोक्छ ।’

 

लामखुट्टेले सार्ने मुख्य रोग
औलो, डेंगु, जिका, वेस्ट निल भाइरस, चिकनगुनिया, जापानी इन्सेफ्लाइटिस, फाइलेरिया लगायत

[email protected]

स्वास्थ्य

नासपाती: गुदीभन्दा बोक्रा फाइदाजनक

- कान्तिपुर संवाददाता

मौसमी फल नासपाती हाम्रो मुलुकमा पहाडी स्थानमा पाइन्छ । यो गुलियो र स्वादिष्ट मात्र हुँदैन, थुप्रै पौष्टिक तत्त्व र औषधीय गुणले भरिपूर्णसमेत हुन्छ ।


नासपाती क्याल्सियम, क्लोरिन, फलाम, म्याग्नेसियम, सोडियम, सल्फर, तामा, फोस्फोरस र पोटेसियमको राम्रो स्रोत हो । यसको बोक्रामा धेरै लाभदायक तत्त्व हुन्छन् । त्यसैले नासपाती नताछी खानु निकै राम्रो मानिन्छ । यसको बोक्रामा गुदीको तुलनामा तीनचार गुणा बढी फाइटो न्युट्रिसन पाइन्छ, जसले क्यान्सर र मुटु रोगको जोखिम घटाउने गर्छ । यो फलमा थुप्रै एन्टिअक्सिडेन्ट पाइन्छन् । एन्टिअक्सिडेन्टले बुढ्यौलीको संकेतलाई रोक्नुका साथै उच्च रक्तचाप र स्ट्रोकको सम्भावना कम गर्ने गर्छ । यसमा भएको भिटामिन ‘ए’ र एन्टिअक्सिडेन्टले छालामा
बढ्दा उमेरको प्रभाव कम गर्छ । चाउरी, डन्डीफोर र छाला सम्बन्धी समस्या रोक्न पनि सघाउँछ ।
नासपातीमा रेसा (फाइबर) उच्च मात्रामा हुन्छ । एउटा नासपाती खाँदा एक दिनको फाइबरको मात्राको करिब २४ प्रतिशतसम्म पूरा गर्न सकिन्छ । यसले पाचन प्रक्रियालाई बलियो बनाउँछ । फाइबरको राम्रो स्रोत हुने भएकाले यसमा भएको पेक्टिनले न कब्जियत हुन दिन्छ न त पखाला । पेक्टिनले रगतको कोलेस्ट्रोल र सेलुलोजको स्तर नियन्त्रित गर्छ । नासपाती भोक मेटाउन सहयोगी हुन्छ । यसमा भएको फाइबर धेरै ढिलोसम्म रहने हँुदा पेट भरिएको अनुभव भइरहन्छ । फाइबरले पेटको क्यान्सर बढ्न दिँदैन, ठूलो आन्द्रा स्वस्थ भइरहन्छ । यसमा पाइने हाइड्रो–अक्सिनमिक एसिडले पनि पेटको क्यान्सर रोक्न सघाउँछ ।


नासपाती जुनसुकै उमेर समूहका लागि उपयुक्त हुन्छ । मधुमेह, मोटोपन, जीवनशैलीसम्बन्धी स्वास्थ्य समस्याबाट ग्रस्त व्यक्तिका लागि यो फल राम्रो मानिन्छ ।
यसमा लेबलोज हुन्छ । यो सुगरको एउटा प्राकृतिक रुप हो । अत्यन्त स्वास्थ्यवद्र्धक मानिएको लेबलोजले रगतमा सुगरको स्तर बढ्न दिँदैन ।


यसमा बढी मात्रामा बोरोन हुन्छ । बोरोनले हाम्रो हाडमा क्याल्सियम रहिरहन सघाउँछ । यो फल खाँदा अस्टियोअस्पोरोसिस हुने खतरा कम हुन्छ ।


नासपाती नियमित रूपमा खाने महिलाहरूलाई महिनावारी सुकेपछि क्यान्सर हुन सक्ने सम्भावना निकै घट्छ । यसमा भएको भिटामिन सी र एन्टिअक्सिडेन्टको गुणले क्यान्सरबाट कोषिकाहरू नष्ट हुन दिन्न ।


यसमा तामा र भिटामिन सी प्रशस्त पाइने भएका कारण हामीमा रोगप्रतिरोधी क्षमता बलियो बनाउँछ । संक्रामक रोग हुन पाउन्न । मौसमी रुघाखोकीबाट समेत जोगाउछ ।
नासपातीमा ग्लुकोज हुने भएकोले खाएपछि शरीरमा तुरुन्त ऊर्जा बढ्छ ।


यसमा प्रशस्त मात्रामा फलाम पाइने भएकोले सेवन गर्दा हिमोग्लोबिनको स्तर बढछ । रक्तअल्पताले पीडित व्यक्तिले यो फल खानु राम्रो मानिएको छ । नासपाती खाइरहने महिलाको भविष्यको शिशुलाई ‘न्युरल टयुब डिफेक्ट’ हुन पाउन्न । यो फलमा पाइने फोलिक एसिडले यसमा काम गरेको हुन्छ ।

स्वास्थ्य

कलेजो स्वस्थ राख्न...

हेल्थ टिप्स
- कान्तिपुर संवाददाता

कलेजो शरीरको यस्तो अंग हो, जसलाई रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु निकै श्रेयस्कर मानिन्छ । सामान्य स्वस्थकर जीवनशैली र खानपान अपनाएर कलेजो स्वस्थ राख्न सकिन्छ ।


अस्वस्थकर खानपानका कारण हाम्रो शरीरमा टक्सिन छिर्ने गर्छ । यो सुरुमा कलेजोमै जान्छ । अनि कलेजोले यसलाई प्रोसेस गरेर शरीरबाहिर निकाल्छ ।


कलेजोलाई स्वस्थ राख्न मद्यपान वा धूमपान गर्नै हुन्न, गर्ने नै भए मात्रा घटाउनुपर्छ । अत्यधिक मद्यपानका कारण कलेजोको सिरोसिस हुने खतरा हुन्छ ।


कलेजोलाई स्वस्थ राख्न पर्याप्त निद्रा पनि आवश्यक मानिन्छ । दिनहुँ ६ घण्टाभन्दा कम निदाउने गर्दा हाम्रो मेटाबोलिज्म प्रभावित हुन्छ । यसले गर्दा कलेजोसम्बन्धी रोग हुने जोखिम बढ्छ । अर्को कुरा, तनाव लिनु हुँदैन । तनावले कलेजोको कार्य क्षमतासमेत प्रभावित गर्छ । अनि पाचन प्रक्रिया गडबड हुन थाल्छ ।


कलेजोलाई स्वस्थ राख्न ताजा फलफूल, हरियो सागसब्जी पर्याप्त मात्रामा खानुपर्छ । दिनहुँ पर्याप्त पानी खानुपर्छ । फलफूलको जुस सेवन पनि लाभदायक हुन्छ ।


कलेजोलाई डिटक्सिफाई गर्न लसुन खानु उपयुक्त मानिन्छ । कलेजो स्वस्थ राख्न चुकन्दर, गाजर, मुलाजस्ता जरा भएका सब्जीहरू खानपानमा सामेल गर्नुपर्छ । यस्ता तरकारीमा हुने फ्लेभोनाइडले कलेजोको कोषिकालाई मर्मत गरेर त्यसलाई उपयुक्त रूपमा काम गर्न सघाउँछ ।


विश्वमा अचेल फ्याटी लिभरका धेरै बिमारी हुने गरेका छन् । त्यसको प्रमुख कारण हो, बढी कोलेस्ट्रोल भएको खाना खानु । खानपानमा बेसारको नियमित सेवन कलेजोका लागि फाइदाजनक मानिन्छ ।


यसले पाचन प्रणालीमा सुधार गर्छ, कलेजोको संक्रमणलाइ निको पार्छ ।


मोटोपनले कलेजोमा समस्या ल्याउन सक्छ । दिनहँु व्यायाम गर्नुपर्छ, तर पसिना निस्किने गरी । पसिना निस्कियो भने शरीरको सफाइ हुन्छ । साइकल चलाउनु, हिँड्नु, जगिङ गर्नु, घरबाहिर खेलिने खेल खेल्नुजस्ता कार्यले कलेजोको स्वास्थ्यमा सकारात्मक भूमिका पार्ने गर्छन् ।

Page 10
समाचार

कहिले खुल्छ मलेसिया ?

- होम कार्की

दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उड्दा भने अधिकांश सिट खाली हुन्छन् । यतिखेर यी एयरलाइन्सको व्यापार बिदामा आएका कामदारले मात्रै धानिदिएका छन् । जेठ २ देखि नेपाल सरकारले मलेसिया जान चाहने नयाँ कामदारलाई श्रमस्वीकृति दिन बन्द गरेको छ । बिदामा फर्केका पुराना कामदारले पुन: श्रमस्वीकृति पाइरहेका छन् । नेपाली श्रमिकको सबभन्दा ठूलो रोजगारी गन्तव्य मलेसिया कहिले खुल्छ त ? यसको ठ्याक्कै जवाफ न नेपाल सरकारले दिएको छ न त मलेसिया सरकारले ।


किन रोकियो ?
श्रम मन्त्रालयले मलेसियामा नयाँ कामदार पठाउन रोक्नुका मुख्य दुई कारण छन् । पहिलो, कामदार पठाउन मलेसियाले नेपालसँग अनुमति नलिई एकतर्फी संयन्त्र स्थापना गर्नु । दोस्रो, ती संयन्त्रले श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त शुल्क लिनु ।
जेठ १ सम्म मलेसियाका तर्फबाट स्थापित भीएलएन, वानस्टेप सेन्टर, माइग्राम्स, इमिग्रेसन क्लियरेन्स सिस्टम र बायोमेडिकलमार्फत स्वास्थ्य परीक्षण हुन्थ्यो । मलेसिया सरकारले दिएको ‘कलिङ भिसा’ राहदानीमा लगाउन यी ५ तह पार गर्नुपथ्र्यो । यी सबै पार गर्दा सात सय रुपैयाँको भिसा शुल्क १९ हजार ३ सय २३ रुपैयाँ पुग्थ्यो । श्रम मन्त्रालयले यसलाई कामदारमाथि हुने लुट ठहर गरी नियन्त्रणको कदम चाल्यो । यी संयन्त्रको स्थापना तत्कालीन श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले गरिदिएका हुन् । उनले बायोमेडिकलमार्फत स्वास्थ्य परीक्षण गर्न अनुमति दिएपछि मलेसियाका अरू संयन्त्र खुल्न थाले । ‘केही संस्थाले मलेसिया जाने श्रमिकबाट गैरकानुनी तवरले शुल्क उठाए,’ श्रममन्त्री गोकर्ण विष्ट भन्छन्, ‘यस्तो कार्य सरकारलाई मान्य हँुदैन ।’


स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परीक्षण गर्न २ सय ३७ स्वास्थ्य संस्थालाई तोकेकोमा ३९ वटाले मात्रै काम थाले, प्रतिकामदार ४५ सय रुपैयाँ शुल्क लिएर । स्वास्थ्य परीक्षणकै लागि सफ्टवेयरमा नाम दर्ता गर्न माइग्राम्सका नाममा १२५ मलेसियन रिंगिट (करिब ३४ सय रुपैयाँ) पनि कामदारसँग लिन थालियो । पासपोर्ट संकलन गरी नेपालस्थित मलेसियन दूतावाससम्म पुर्‍याउने कामका लागि वान स्टप सेन्टर (ओएससी) ले २८ सय उठाउन थाल्यो । कामदारको इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) का नाममा ३२ सय र भिसा प्रक्रियाबापत अरू ३२ सय । सबै गर्दा भ्याटसहित १९ हजार ३ सय २३ रुपैयाँ तिर्नुपर्ने भयो ।


श्रम मन्त्रालयका अनुसार गैरकानुनी कार्य गर्ने यस्ता ३४ संस्थाका ४४ व्यक्तिमाथि ३ अर्ब १० करोड ५५ लाख बराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएको छ ।
कहिले खुल्ला ?


नेपालले कामदार पठाउन रोकेपछि मलेसियाका रोजगारदाता कम्पनी खुलाउन लागिपरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष रोहन गुरुङ भन्छन्, ‘रोजगारदाताले झन्डै १५ हजार नेपाली कामदारको भिसा पठाइसकेका छन् । कामदार लैजाने वातावरण बनाउन मलेसिया सरकारलाई दबाब दिइरहेका छन् ।’


मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरन जुलाई १९ तारिखमा कार्यवाहक राजदूत कुमार खरेललाई भेट्न नेपाली दूतावास पुगेका थिए । छलफलमा मन्त्री कुलासेगरनले नेपाली कामदारले भोग्दै आएका समस्या व्यवस्थापन गर्न मलेसिया सरकार तयार रहेको बताए । ‘मन्त्रीले किन नेपालले कामदार पठाउन बन्द गर्‍यो ? ती संयन्त्रमाथि किन कारबाही भयो भन्नेबारे केही सोध्नुभएन ?,’ खरेलले भने, ‘हामीले ती संयन्त्रले कामदारसँग चर्को मूल्य लिएको र अदालतमा मुद्दा चलिरहेको जानकारी दियौं ।’


खरेलका अनुसार दूतावासले मलेसियाका उच्च श्रम अधिकारीसँग पनि छलफल गरेको छ । छलफलमा अहिलेका संयन्त्र हटाएर बेग्लै व्यवस्था गर्ने विषय उठेको थियो । ‘भिसा शुल्क र विभिन्न निजी कम्पनीसम्बन्धी हालको व्यवस्थापनमा पुनर्विचार हुन सक्नेछ,’ त्यहाँको मानव संसाधन मन्त्रालयका उच्च अधिकारीले भनेका थिए । सहायक उपसचिव बास्सा विन बाछिकले यसबारे मानव संसाधन र गृह मन्त्रालयका अधिकृतबीच छलफल भएको बताए ।

 


नेपालले अघि सारेको विकल्प
नेपालले कामदारलाई आर्थिक भार नपर्ने गरी काठमाडौंमा रहेको मलेसियाली दूतावासले राहदानी बुझेर भिसा लगाइदिने व्यवस्था गर्न सक्ने विकल्प अघि सारेको छ । यस्तो प्रस्ताव मलेसिया सरकारसमक्ष राखिसकिएको कार्यवाहक राजदूत खरेलले बताए । ‘हाललाई सिधै दूतावासबाट भिसा दिँदा कामदार र उनीहरूका रोजगारदाता दुवैको कल्याण हुने हामीले बताएका छौं,’ उनले भने । मलेसिया यो विकल्पमा छलफल गर्न तयार देखिएको छ । गृह र मानव संसाधन मन्त्रालयबीच समन्वयात्मक बैठकमा यसबारे छलफल हुने बास्साले बताएका छन् । अहिले मलेसियामा वैध बाटो पुगेका ३ लाख ८४ हजारजति नेपाली कार्यरत छन् । कागजात नभएकाको संख्या पनि जोड्दा ५ लाखभन्दा बढी हुने अनुमान छ । २००१ अघिदेखि नै नेपाली कामदार मलेसिया जान थालेका हुन् ।

Page 11
अर्थ वाणिज्य

थ्री गर्जेजलाई अन्तिम मौका

पश्चिम सेती जलविद्युत् आयोजना
वार्ताका लागि उच्च तहका अधिकारी सम्मिलित टोली पठाउन पत्र लेखेका छौं, वार्ता गरी अन्योल हटाउन चाहन्छौं : लगानी बोर्ड
अहिलेकै दरमा विद्युत् बिक्री गर्दा आयोजना नाफामा जान्न : थ्री गर्जेज
- विजय तिमल्सिना

पश्चिम सेती आयोजना बनाउने भनेर काम गर्न आलटाल गरिरहेको चिनियाँ कम्पनी ‘चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन’ लाई सरकारले अन्तिम मौका दिने भएको छ । ०६८ मा
सम्झौता गरे पनि चिनियाँ कम्पनीले विभिन्न सर्त राख्दै अझैसम्म आयोजना निर्माणको सुरसार गरेको छैन ।


थ्री गर्जेजले आयोजना निर्माणका लागि चासो नदेखाएपछि लगानी बोर्डले अन्तिमपटक वार्ता गर्ने तयारी गरेको छ । ‘वार्ताका लागि उच्च तहका अधिकारी सम्मिलित हुने टोली पठाउन पत्र लेखेका छौं,’ बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले भने, ‘वार्ता गरी अन्योल चिर्न चाहन्छौं ।’
७५० मेगावाटको आयोजना निर्माणका लागि बोर्डले थ्री गर्जेजसँग समन्वय गरिरहेको छ । बोर्डले ५ सय मेगावाटभन्दा बढी क्षमताका आयोजना निर्माणमा सहजीकरण गर्ने गरेको छ । थ्री गर्जेज विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बनाएको कम्पनी हो । तर, नेपालमा भने कम्पनी उदासीन देखिएको छ । यही कारण सरकारले ०७५/७६ को बजेटमार्फत यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने घोषणा गरिसकेको छ । तर, चिनियाँ सरकारले भने अझै बनाउन चाहेको धारणा बजेटलगत्तै सार्वजनिक गरेको थियो । चीनको विदेश मन्त्रालयका प्रवक्ताले कम्पनीले पश्चिम सेती निर्माणबाट हात झिकिनसकेको बताएका थिए । सरकारले पनि स्वदेशी लगानीमा बनाउने भने पनि आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई दिइएको सम्झौता तोडेको छैन ।


साउन १ मा बसेको बोर्ड सञ्चालक समिति बैठकले आयोजनाबारे २ महिनाभित्र निष्कर्षमा पुग्न कार्यालयलाई निर्देशन दिएको थियो । ‘आयोजनाबारे अर्थ मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र विकासकर्ता कम्पनीसँगको छलफलपछि निष्कर्षमा पुग्न निर्देशन दिइएको छ,’ बोर्ड बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


विकासकर्ता चिनियाँ कम्पनीले विभिन्न सर्त राख्दै आयोजनाको काम अघि बढाउन आनाकानी गरेपछि यसअघि पनि बोर्डले अध्ययनका लागि समिति गठन गरेको थियो । अघिल्लो वर्षको फागुन २५ मा बसेको लगानी बोर्डको सञ्चालक समितिको बैठकले अध्ययन समिति गठन गरेको थियो ।


समितिले बोर्डलाई दिएको प्रतिवेदनमा चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरी आफैंले बनाउने वा ‘थ्री गर्जेज’ लाई नै कम क्षमतामा आयोजना बनाउन स्वीकृति दिने विकल्प उल्लेख गरेको छ । ‘अब आयोजनाको जडित क्षमता घटाएरै पनि निर्माण गर्न दिन सकिने विषयमा छलफल हुन्छ,’ लगानी बोर्ड स्रोतले भन्यो, ‘यो वार्तामा कुनै उपलब्धि नभए सम्झौता तोड्ने तयारी छ ।’


अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको ०७५/७६ को बजेटमा ‘पश्चिम सेतीलाई नेपालभित्रकै स्रोत परिचालन गरी निर्माण सुरु गरिनेछ’ भनी उल्लेख छ । बोर्डले ०६८ मा चिनियाँ कम्पनी थ्री गर्जेजसँग ७ सय ५० मेगावाट क्षमतामा आयोजना निर्माणका लागि सम्झौता गरेको थियो । तर, कम्पनीले आफ्नो अध्ययनअनुसार ७५० मेगावाट क्षमतामा पश्चिम सेती बनाउँदा लागत महँगो पर्ने भन्दै ६ सय मेगावाट क्षमतामा बनाउने प्रस्ताव गरेको थियो । नेपाली पक्षले यसलाई अस्वीकार गर्दै आएको छ ।


‘थ्री गर्जेज’ को सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसन र लगानी बोर्डबीच भएको सम्झौताअनुसार उक्त आयोजना थ्री गर्जेज र नेपाल विद्युत् प्राधिकरणको लगानीमा बनाइनेछ । आयोजनामा थ्री गर्जेजको ७५ र २५ प्रतिशत प्राधिकरणको सेयर हुने उल्लेख छ । दुवैको लगानीमा संयुक्त कम्पनी स्थापना गरी आयोजना अघि बढाउने समझदारी भएको हो ।


विद्युत् आयोजना अघि बढाउन थ्री गर्जेजले विद्युत् खरिददर बढाउनुपर्ने, १० वर्षभन्दा बढी समय डलरको भाउमा विद्युत् बिक्री सुविधा हुनुपर्ने, १७ प्रतिशत नाफा निश्चित गर्नुपर्ने, आयोजनाका लागि आफूले अहिलेसम्म गरेको लगानी पुँजीकरण गर्नुपर्नेलगायतका माग बोर्डसमक्ष पेस गरेको थियो ।


प्राधिकरणले जलाशययुक्त आयोजनाको विद्युत् हिउँदमा १२ रुपैयाँ ४० पैसा र वर्षामा ७ रुपैयाँ १० पैसामा किन्ने दर निर्धारण गरेको छ । यो मूल्यमा विद्युत् बिक्री गर्दा आयोजना नाफामा नजाने निष्कर्ष थ्री गर्जेजको छ ।


विद्युत् खरिदको वर्तमान निर्देशिकाअनुसार जलविद्युत् आयोजनाले विदेशी लगानी नतिरुन्जेल वा १० वर्षसम्म जुन चाँडै हुन्छ त्यही बेलासम्म मात्रै डलरको भाउमा विद्युत् खरिद गर्न मिल्ने व्यवस्था छ ।


यही विवादका कारण वर्षौंदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत् अघि बढ्न नसकेको हो । ऊर्जामन्त्री वर्षमान पुनले २५ वैशाखमा भावी योजना समेटेर जारी गरेको श्वेतपत्रमा पश्चिम सेतीलाई प्रदेश नम्बर ७ को मेगा आयोजनाका रूपमा उल्लेख गरिएको छ ।


बैतडी, बझाङ, डडेल्धुरा र डोटी जिल्लालाई छुने आयोजनाले वार्षिक २ अर्ब ८० करोड युनिट विद्युत् उत्पादन गर्ने अनुमान छ । आयोजनाका लागि १ खर्ब ८० अर्ब लाग्ने अनुमान छ ।
आयोजना निर्माणका लागि सरकारले ०५४ मा अस्ट्रेलियाली कम्पनी ‘स्मेक’ लाई दिएको थियो । पटकपटक म्याद थप्दा पनि कम्पनीले आर्थिक स्रोत जुटाउन नसकेपछि ०६८ साउनमा सम्झौता खारेज भएको थियो । सोही वर्ष आयोजना निर्माणको जिम्मा थ्री गर्जेजलाई दिने निर्णय भएको थियो । थ्री गर्जेजले ०६८ मा गरेको सम्झौतामा आयोजना सन् २०१४ देखि निर्माण सुरु गरी २०१९ को डिसेम्बरमा गरिसक्ने उल्लेख छ ।

अर्थ वाणिज्य

हटेन सिन्डिकेट

सम्बन्धित निकाय प्रभावकारी हुन नसक्दा यातायात व्यवसायीहरूको मनोमानी कायमै
- माधव ढुंगाना

भैरहवा– सिन्डिकेट लगाएर यातायात व्यवसायीहरूले यात्रुलाई सास्ती दिने गरेको गुनासो धेरै पहिलेदेखि सुनिँदै आएको हो । उनीहरूले आफ्ना यातायात साधनबाट सेवा दिनुको साटो ‘लुट’ मच्चाएको दुखेसो पनि यात्रुहरूको रहँदै आएको छ । कोच्चिएर, झुन्डिएर र ठेलमठेल त छँदै छ, चालक/सहचालकबाट हुने गरेको दुव्र्यवहारबाट यात्रु धेरै दु:ख र सास्ती खेप्न बाध्य भएकै छन् । यात्रुका गुनासाहरू समाधान गर्ने उद्देश्यले सरकारले केहीअघि एउटा निर्णय गर्‍यो, यातायात क्षेत्रका सबैखाले सिन्डिकेटको अन्त्यको घोषणा नै गर्‍यो । साउन १ बाट उसले यो हटाउने भन्यो साउनको एक साता बितिसक्दा पनि यातायात क्षेत्रको सिन्डिकेट हटेको छैन ।


सिन्डिकेट प्रणाली खारेजीको सरकारी घोषणा अझै कार्यान्वयन हुन नसक्दा यात्रुहरू पहिले झैं मारमा परेकै छन् । उनीहरूको सास्ती उस्तै छ । सिन्डिकेट पक्षधर यातायात समितिहरू निर्वाध रूपमा सञ्चालनमा छन् । सम्बन्धित निकाय प्रभावकारी हुन नसक्दा यातायात व्यवसायीहरूको मनोमानी कायमै
रहेको हो ।


व्यवसायीहरू भने घोषणाबाट आफूहरू अन्योलमा परेको प्रतिक्रिया दिएका छन् । सिन्डिकेट खारेजीको घोषणासँगै कम्पनीमा दर्ता भई प्रतिस्पर्धात्मक रूपमा यातायात सञ्चालन गर्न अनुकूल हुने खालको वातावरण बनाउन सरकार असफल भएको आरोप उनीहरूको छ ।


साउन १ देखि सिन्डिकेट प्रणाली र सिन्डिकेट पक्षधर यातायात संस्था पूर्ण रूपमा खारेज गरिने त भनियो तर कार्यान्वयनमा फितलो देखिएको छ । सरकारले यसबारे स्पष्ट धारणा अघि अझै सार्न नसकेको सिन्डिकेट पक्षधर व्यवसायीहरू बताउँछन् । सरकारले त्यस्ता समिति सञ्चालन गर्न थप सहज हुने गरी व्यवस्था गर्न थालेपछि उनीले सरकारको नियतमै शंका गर्न थालेका छन् ।


‘सिन्डिकेट खारेजीबारे सरकारले स्पष्ट नीति ल्याउन नसक्दा धेरै अन्योल भएको छ,’ सिन्डिकेट खारेजीको घोषणालगत्तै छुट्टै यातायात कम्पनीबाट यातायात सञ्चालन गर्न थालेका सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्यबहादुर सारू मगरले भने, ‘सरकारले सिन्डिकेट पूर्ण रूपमा हटाउने भनेपछि हामीले करोडौं रुपैयाँ लगानी गरिसक्यौं । तर, सरकारले भनेअनुरूप काम गर्न नसक्दा कम्पनीबाट सहज रूपमा यातायात सञ्चालन गर्ने वातावरण बन्न सकेको छैन ।’ सरकारले अनेक बहाना बनाउँदै सिन्डिकेट प्रणालीलाई नै निरन्तरता दिन खोजेको हो कि भन्ने आशंका व्यवसायीले गर्न थालेको उनले बताए ।


मगरका अनुसार कम्पनीमा दर्ता भएका यातायातका साधनलाई अञ्चल यातायात कार्यालयको सिफारिस लिई यातायात व्यवस्था विभाग काठमाडौंमा दर्ता गर्नुपर्ने प्रावधान सरकारले घोषणामार्फत गरेको थियो । त्यसअनुरूप दर्ता गर्न विभागमा जाँदा कर्मचारीले ऐन बाझिएको भन्दै दर्ता गर्न मानेका छैनन् । ‘ऐनमा के कुरा बाझियो’ भनेर सोध्दा कुनै जवाफ नदिने गरेको आरोप उनले लगाए । ‘हिजो पनि विभागमा फोन गरेर कम्पनीमा आबद्ध सवारी साधन दर्ता गर्नेबारे सोध्दा छलफलकै क्रममा रहेकाले तत्काल दर्ता गर्ने अवस्था नरहेको जवाफ दिए,’ मगरले थपे ।


सार्वजनिक यातायातका साधन सडकमा गुड्नका लागि सरकारको रुट परमिट आवश्यक पर्छ । रुट परमिटका लागि यातायात विभागमा दर्ता हुनुपर्ने कानुनी प्रावधान छ ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा अञ्चल यातायात व्यवस्थापन समिति अध्यक्ष उदयबहादुर रानाले सिन्डिकेट खारेजीबारे पछिल्लो समय कुनै परिपत्र केन्द्रबाट नआएको बताए । ‘तर गृह मन्त्रालयबाट साउन ४ मा आएको परिपत्र सिण्डिकेट हटाउनेबारे केन्द्रित नभई अन्य विषयमा मात्र समेटिएको,’ उनले भने, ‘पछिल्लो परिपत्रमा समितिले घाइते यात्रु, विद्युत् पानीको महसुल, कर्मचारीको तलबलगायतको भुक्तानी बाँकी रहेको खण्डमा भुक्तानी प्रक्रिया र रुट इजाजत लिएका सवारी साधनलाई मंसिरसम्म सञ्चालन गर्न पाउने विषयमा मात्र केन्द्रित छ ।’ नेपाल ट्राभल्स एसोसिएसन अफ एजेन्ट प्रदेश ५ का उपाध्यक्ष सागर अधिकारीका अनुसार सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज भएको घोषणा गरे पनि त्यसअनुरूपको अनुभूति आम सर्वसाधारण यात्रु र व्यवसायीले गर्न नसकेको बताए । ‘सिन्डिकेट खारेजी सम्बन्धमा सरकार आफैं अन्योलमा रहेको आभास हुन थालेको छ’ उनले भने ।

Page 12
अर्थ वाणिज्य

आयुमी सुन्दिनन्, सुनाएरै अर्बपति बनिन्

धनीका कुरा
- दिनेश यादव

श्रवण शक्ति नभएका एकजना चर्चित अमेरिकी मोडेल, नायक र श्रवण शक्ति नहुनेहरूको अधिकारका पक्षमा वकालक गर्ने नाइल डिमार्कोले एकताका भनेका थिए, ‘सुनाइमा कमजोर भएकाहरूले जीवनमा केही गर्न सक्तैनन् भन्ने आम नागरिकको बुझाइ छ ।’ आम नागरिकको यो बुझाइलाई गलत प्रमाणित गरिदिने सेलिब्रेटीहरू विश्वमा धेरै छन् । पहिलो प्रयोगात्मक विद्युत् चिम र ग्रामोफोन अविष्कार गर्ने थोमस अल्वा एडिसन बाल्यकालदेखि नै श्रवणशक्ति विहीन थिए । अझ, हेलेन केल्लर नसुन्ने मात्र होइन दृष्टिविहीनसमेत थिइन्, जो कला संकायमा स्नातकसम्मको शिक्षा हासिल गरी सर्वोत्कृष्ट बनिन् । विश्वकै प्रसिद्ध पियानोबादक तथा शास्त्रीय संगीतज्ञ लुडविङ भ्यान बिथोभेनको पनि श्रवण शक्ति थिएन तर उनले सिर्जना गरेको संगीत सुन्न मानिसको घुँइचो लाग्ने गथ्र्यो । भनिन्छ, संगीत एउटा त्यस्तो क्षेत्र हो, जहाँ संगीतकारले पहिले आफू सुन्छन्, त्यसपछि स्रोताहरूलाई सुनाउने गर्छन् । तर, श्रवण दोषका कारण आफूले नसुने पनि तिनले गरेका कालजयी संगीत लोकप्रिय भएका उदाहरण प्रशस्तै भेटिन्छन् । यो कुरो सुन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर, केहीले आफ्नो परिश्रमबाटै यो क्षेत्रमा सफलता पाएका छन् । तीमध्ये जापानी पप स्टार आयुमी हामासाकी पनि एक हुन् ।


उनको श्रवण शक्ति छैन । आफ्नै ब्लग ‘टिम आयु’ मार्फत उनले अघिल्लो वर्षको मे २० मा यो कुरो सार्वजनिक गरेकी थिइन् । ‘स्ट्रेट्स टाइम्स’ का अनुसार जापानी सोलोमा सधैं बेस्ट–सेलिङको उपाधि हासिल गर्न सफल आयुमीको बायाँ श्रवण शक्ति गुमेको नौ वर्ष भइसक्यो । दायाँ कानबाट पनि उनले कम सुन्ने गरेकी छन् । तर, त्यसले उनको संगीत, गीत र कला क्षेत्रमा फड्को मार्न रोकेन, छेकेन । ३९ वर्षीया उनी चर्चित संगीतकी एउटी साधिका हुन् । श्रवण शक्तिमा देखिएको दोषबारे आफ्नो ब्लगमा बेलिविस्तार लगाउँदै लेखेकी छन्, ‘मैले धेरै ठाउँमा आफ्नो कानको परीक्षण गराएँ, कुनै फाइदा भएन, धेरै पहिलेदेखि बायाँ कानबाट सुन्दिन थिएँ, अब दायाँ पनि कमजोर हुँदै गएको छ ।’


‘द रिचेस्ट’ अनलाइनका अनुसार जापानी रेकर्डिङ आर्टिस्ट, मोडेल र नायिका आयुमीको कुल सम्पत्ति ७ अर्ब ७९ करोड रुपैयाँ (७० मिलियन अमेरिकी डलर) भन्दा बढी छ । यो सबै उनले आफ्नै पौरखबाट कमाएकी हुन् । सन् २०१५ को अक्टोबरमा यू–टयुबबाट ६ करोड ८६ लाख रुपैयाँ (६ लाख २५ हजार डलर) कमाएकी थिइन् । उक्त च्यानलमार्फत उनलाई हेर्नेको संख्या साढे १२ करोडभन्दा बढी छ । उनको यू–टयुब च्यानलको पौने २ लाख सब्सक्राइबर्स छन्, जसबाट करिब २ लाख रुपैयाँ (१७ सय ५० डलर) प्राप्त गरेकी थिइन् । सन् २०११ को मार्चमा टोहोकु भूकम्प र सुनामी पीडितका लागि आफ्नो आम्दानीबाट लाखौं डलर दान गरेकी थिइन् । उनी सन् २०१० मा आफ्नो एलबम, कन्सर्ट भ्रमण र विभिन्न सम्झौताबाट ४ अर्ब ३९ करोड रुपैयाँ (४० करोड डलर) आम्दानी गर्दै अमेरिकी अखबार ‘फोक्र्स’ को सर्वाधिक ‘अलटाइम’ गायिकाको सूचीमा आफ्नो नाम दर्ज गराउन सफल भएकी थिइन् ।


परिवारको सहयोगमा आयुमी हामासाकीले ७ वर्षकै उमेरमा मोडलिङ सुरु गरेकी थिइन् । कलिलै उमेरमा चर्चित बनेपछि उनको माग पनि बढ्दै गयो । पछि उनी टोकियो हानिइन्, त्यहाँ एसओएस टयालेन्ट संस्थामा प्रशिक्षण लिन सुरु गरिन् । टोकियो पुग्दा उनको उमेर मात्र १४ वर्ष थियो । किशोरावस्था टेकेकै बेलादेखि उनले मनोरञ्जन क्षेत्रमा आफ्नो परिचय बनाउन सफल भइन् । ‘सन म्युजिक’ का लागि काम गर्न थालेपछि उनको मोडल करियर एकाएक रोकिन पुग्यो । सन् १९९५ मा ‘नोथिङ फ्रम नोथिङ’ का लागि पहिलो ‘र्‍याप इपी’ सार्वजनिक गरिन् । तर, यसले म्युजिकहरूको चर्चित काउन्टडाउन सूचीमा स्थान बनाउन सकेन । यो उनको पहिलो असफलता थियो । तर, हरेस खाइनन् । यो क्षेत्रमा आफ्नो प्रयास जारी राख्दै सन् १९९९ मा उनी पहिलो स्टुडियो एल्बम ‘अ सङ फर एक्सएक्स’ सार्वजनिक गरिन् । उक्त एल्बम जापानको चर्चित संगीत कम्पनीको ‘ओरिकोन चार्टस’ मा पहिलो स्थानमा पुग्न सफल भयो । एसियामा संगीत र फेसन ट्रेन्ड्सलाई परिवर्तन गर्नमा उनको पनि योगदान रहेको धेरैको भनाइ छ । यसबाट उनी थप चम्किन पुगिन् । उनको डिमान्ड गर्नेहरू बढेसँगै विभिन्न व्यापारिक र विज्ञापन क्षेत्रमा रातारात छाइन् । उनले जापानमा ५० मिलियनभन्दा बढी रेकर्डिङ सामग्रीहरू बेचेर मुलुककै बेस्ट–सेलिङ कलाकार बन्न पुगिन् । उनको एउटा गायन त सन् १९९९ देखि २०१० सम्म लगातार एक वर्ष पहिलो नम्बरमा पर्न सफल भएको थियो । उनी पहिलो कलाकार बनिन्, जसका आठवटा स्टुडियो एल्बमहरू ओरिकोन चार्टसमा सूचीको टपमा परेका थिए । यति मात्रै हैन, उनको एउटा एल्बम १३ वर्ष लगातार सूचीमा परेर उनलाई पहिलो कलाकारसमेत बनायो । सन् १९९३ मा आयुमी टेलिभिजन चलचित्र ‘आर्ट अफ फाइटिङ’ का लागि आफ्नो आवाज दिन सुरु गरेकी थिइन् ।


आफ्नो प्रतिभालाई प्रस्फुटन गर्न उनी नायिकाको भूमिकामा समेत देखिन थालिन् । त्यसै क्रममा उनले सुरुमा विभिन्न ‘बी–मुभिज’ र टेलिभिजन नाटकहरूमा आफ्नो कलाको परिचय दिन कुनै कसर बाँकी राखिनन् । तीमध्ये केही चर्चित पनि भए । उनले ‘लाइक ग्रेन्स अफ स्यान्ड’, ‘सुमोमो मो मोमो’, ‘ग्याको द्वितीय’ र ‘डिस्टेन्स लभ’ जस्ता चर्चित चलचित्रमा सफल अभिनय गरिन् । सन् १९९५ मा उनले टीभी शृंखला मिसेइनेनमा नायिकाको भूमिकामा समेत देखिन पुगिन् । तर, उनी यो क्षेत्रमा धेरै समय टिकिनन्, छाड्ने निर्णयमा पुगिन् । त्यसपछि नृत्य क्षेत्रमा हाम फालिन् । ‘भेलफयार्रे’ मा नृत्य गर्न थालिन् । त्यसै क्रममा एभेक्स ट्रयाक्स प्रोडयुसर म्याक्स म्याटसुरासँग उनको भेट हुन पुग्यो । उनको ‘कराओके’ गायन सुनेपछि अमेरिकाको न्युयोर्कमा गायन सिक्न पठाउने म्याक्सले निर्णय गरेका रहेछन् । सन् १९९८ मा उनले एभेक्सका लागि आफ्नो पहिलो एकल ‘पोकर फेस’ का साथ गायन क्षेत्रमा प्रवेश गरिन् । त्यसपछि कहिले नटुंगिने गरी उनको गायन यात्रा सुरु भयो । लभ (डिस्टिनी), बोइज एन्ड गल्र्स, नेभर इभर, भोयाग र मुनलगायतका थुपै्र चर्चित र सफल एल्बमहरू सार्वजनिक गर्न सफल भइन् । अनि त उनका लागि पुरस्कारको ओइरो नै लाग्यो । ओरिकन चार्ट अवार्डस, एमटीभी जापान भिडियो म्युजिक अवार्डस्, द जापान रेकार्ड अवार्डस र म्युजिकनेट अवार्डसजस्ता एसियाली संस्थाहरूबाट सम्मानित भइन् ।


आयुमी हामासाकीको जन्म जापानको फुकुओकामा २ अक्टोबर १९७८ मा भएको हो । उनी सानैदेखि बहुप्रतिभाकी धनी हुन् । ‘आयु’ नामले समेत चिनिने उनी ‘इम्प्रेस अफ जे–पोप’ ले जापानमा चर्चित छिन् । ‘सेलिब्रेटी नेटवर्थ’ का अनुसार हाल आयुमी हामासाकीको आम्दानीको स्रोत संगीत नै हो । तर, उनी रेकर्ड प्रोडयुसर, मोडल, संगीतकार, प्रवक्ता, गीतकारको भूमिका निर्वाह गर्दै मनग्ये धन कमाउन सफल भएकी छन् ।


‘टपरिचेस्ट्स डट कम’ का अनुसार सन् २०१७ मा जापानको १० सर्वाधिक धनाढय सेलिब्रेटीमा उनी पहिलो स्थानमा दरिएकी थिइन् । उक्त वेबसाइट्सले उनको अनुमानित कुल सम्पत्ति ४५० मिलियन डलर रहेको जनाएको थियो । जापानको संगीत संस्कृतिमा मात्रै होइन सिंगो एसियामै आफूलाई अब्बल कलाकारका रूपमा उभ्याउन सफल भइसकेकी छन् । उनले ५० मिलियनभन्दा बढी रेकर्ड बेचेर जापानकै बेस्ट सेलिङ आर्टिस्ट बन्न भ्याइन् । उनले महान् परोकारीका रूपमा समेत आफ्नो परिचय दिन भ्याएकी छन् । सुनामी र टोहोकु भूकम्पका पीडितका लागि ३० मिलियन येन दान गरेको ‘टपरिचेस्ट’ वेबसाइटमा उल्लेख छ ।


विश्वका सेलिब्रेटीहरूबारे जानकारी सार्वजनिक गर्ने ‘मेडियामास’ का अनुसार आयुमी हामासाकी ‘पिपुल विथ मनी’ को १० सर्वाधिक रकम लिने गायकहरू (हाइयेस्ट (पे सिंगर्स) को टप टेनमा यो वर्ष मात्रै ६ अर्ब ३७ लाख रुपैयाँ (५८ मिलियन डलर) भन्दा बढीका साथ पहिलो नम्बरमा परेकी छन् । ‘पिपुल विथ मनी’ ले उनको फोटोसहितको कभर स्टोरी नै प्रकाशित गरेको छ ।
(एजेन्सीहरू)

अर्थ वाणिज्य

अदुवा–बेसारको संकलन केन्द्र

- कान्तिपुर संवाददाता

सल्यान (कास)– बागचौर नगरपालिका २ स्थित खरिबोटमा सय किसानलाई लक्षित गरी अदुवा र बेसार संकलन गर्न भवन निर्माण गरिएको छ । उक्त भवनलाई यी दुई वस्तुको भण्डारण र प्रशोधन केन्द्रका रूपमा उपयोग गरिनेछ ।


बोरामा राखेर घर–आँगनमा थुपार्न बाध्य किसानलाई बजारीकरणमा सहजता ल्याउन भवन निर्माण गरिएको लस्तम पिपलचौतारा कृषक समूहका अध्यक्ष ओजबहादुर केसीले बताए । यो वर्षदेखि उत्पादित अदुवा र बेसार नयाँ भवनमा संकलन गर्ने उनले बताए । उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको २० लाख अनुदान र समूहको ३ लाख ६२ हजार श्रमदान गरी कुल रकम २३ लाख ६२ हजारमा तीनकोठे भवन बनाइएको हो । अदुवा उत्पादन नहुने मौसममा तालिम हलका रूपमा भवनको प्रयोग गरी आम्दानी गर्न सकिने केसीले बताए । ‘खरीबोटका धेरै किसानले अदुवा उत्पादन गर्दै आएका छन् । तर, उत्पादित अदुवा कहाँ राख्ने भन्ने समस्याले सबैलाई पिरोल्ने गरेको छ,’ उनले भने, ‘संकलन केन्द्र बनेकाले अब त्यो समस्या टर्ने मात्रै होइन अदुवा र बेसारको प्रशोधन गर्ने अवसर प्राप्त हुनेछ ।’


कृषि आयआर्जनको मुख्य स्रोत भएकाले अदुवा र बेसारको उत्पादनलाई परम्परागत शैलीबाट नभई आधुनिकीकरणतर्फ लैजानुपर्ने स्थानीय किसान कुलबहादुर डीसीले बताए । उनले भने, ‘यसमा केन्द्रले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । झन्डै ६ रोपनीमा अदुवा उत्पादन गर्दै आएका उनले बारीबाट खनेको अदुवा सीधै केन्द्रमा राख्न सकिने भएपछि कृषकलाई राहत पुग्ने बताए । अदुवा र बेसारको उत्पादन बढाउँदै लैजानुका साथै आगामी दिनमा प्रशोधन गरी बिक्रीबाट थप आयआर्जन गर्न सकून् र बजारीकरणमा सजिलो होस् भन्ने उद्देश्यका साथ संकलन केन्द्र बनाइएको वरिष्ठ कृषि अधिकृत रामप्रसाद गौतमले बताए ।


उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भवन निर्माणमा सहयोग गरेको हो । निर्मित भवनलाई व्यवस्थित गर्दै लैजान उनले बताए । उनका अनुसार खरीबोटमा अदुवालगायत विभिन्न बाली उत्पादनका लागि २८ वटा समूह क्रियाशील छन् । खरिबोट कृषक समूह, पिपलचौतारा कृषक समूह र चन्द्रमा कृषक समूहका सयभन्दा बढी र समूह बाहिरका गरी ५ सय किसानले संकलन केन्द्रबाट लाभ लिन सक्ने दाबी उनको छ । यसबाट कोटमौला, कोटबारा, शिवरथ, बाफुखोलाका किसान लाभान्वित हुने उनको भनाइ छ ।

अर्थ वाणिज्य

नदी अध्ययनमा चिनियाँ

- अर्जुन राजवंशी
झापाको मावा नदी कटान र क्षतिबारे जानकारी लिँदै चिनियाँ प्राविधिक टोली ।तस्बिर : अर्जुन

दमक– चीनले नेपालका नदी/खोलाहरूमा तटबन्ध निर्माण कार्य अघि बढाएको छ । अन्य क्षेत्रमा उसको पहिलेदेखि नै सहयोग रहँदै आएको छ । पछिल्लो समय तटबन्ध निर्माणमा पनि चीन जुटेको हो । यसैक्रममा झापाको ९ वटा नदी खोलामा स्थायी तटबन्धबारे प्रारम्भिक अध्ययन पूरा गरेको छ । यसका लागि चीनबाट ७ सदस्यीय टोली झापा आएका थिए । टोली जिल्लाका मावा, रतुवा, किस्ने, कमल, सतासी, कनकाई, विरिङ, हडिया र निन्दा नदीको स्थलगत अध्ययन गरी बिहीबार काठमाडौं फर्कियो ।


वर्षामा सबैभन्दा बढी क्षति पुर्‍याउने यी नदी/खोलाहरूमा चीन सरकारले स्थायी तटबन्ध गर्ने सम्झौता गरिसकेको छ । सम्झौताअनुसार चिनियाँ प्राविधिक टोली एक सातासम्म ती नदीहरूको स्थलगत अवलोकन तथा अध्ययन गरेको थियो ।


प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा प्रदेश १ अन्तर्गत जिल्लाका यी नदीहरूमा स्थायी तटबन्ध गर्ने सम्झौता भएको थियो । नदी नियन्त्रणबारे अध्ययन गर्न चाइना कम्युनिकेसन कन्ट्रक्सन कम्पनी (सीसीसीसी) का दक्षिण एसिया क्षेत्रीय प्रबन्धक याउ नेतृत्वको टोली झापा आएको थियो । टोलीमा जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियरद्वय अरविन्दकुमार गुप्ता र विनय पौडेल सहभागी थियो ।


अध्ययनका क्रममा चिनियाँ टोलीले नदीहरूले पुर्‍याउने क्षति, कटान क्षेत्र, जोखिमपूर्ण बस्ती, तटबन्ध गर्नुपर्ने क्षेत्र, यसअघि गरिएका प्रयास, नदीहरूको उपयोगिता र आवश्यकताबारे बुझेका थिए । टोलीलाई विभागका इन्जिनियरहरू गुप्ता र पौडेल तथा जिल्लास्थित जनताको तटबन्ध कार्यालयका इन्जिनियर रिन्जे गुरुङले जानकारी गराएका थिए । यी नदीहरूले जिल्लामा सबैभन्दा धेरै क्षति पुर्‍याउने गरेकाले चुरे क्षेत्रदेखि भारतीय सीमा क्षेत्रसम्म दुवै किनारमा स्थायी तटबन्ध गर्नुपर्ने माग राखेको गुरुङले बताए ।


टोलीले जिल्लास्थित जनताको तटबन्ध कार्यालयबाट आवश्यक तथ्यांक लिएको छ । बाँकी तथ्यांकहरू जलस्रोत तथा सिँचाइ विभागबाट लिने गुरुङले बताए । टोली काठमाडौं फर्किनुअघि जनताको तटबन्ध कार्यालयमा सरोकारवालासँग छलफल पनि गरेको थियो ।


सीसीसीसीका प्राविधिकहरूले ९ वटा नदीको अन्तिम डीपीआर ६ महिनाभित्र सक्ने गरी काम थालेको बतायो । जिल्लामा साना ठूला गरी दुई दर्जन नदी/खोला छन् । तीमध्ये ९ वटा नदीले जिल्लामा बर्सेनि ठूलो मात्रामा क्षति पुर्‍याउने गरेको छ । रेडक्रसका अनुसार यस वर्ष यी ९ वटा नदीको बाढीका कारण जिल्लाका ८५ वटा गाउँ कटान र डुबानको उच्च जोखिममा छन् । प्रतिनिधिसभा सदस्य एलपी साँवाले सम्झौताअनुसार चीनले नदी नियन्त्रण गरिदिए जिल्लाको कायापलट हुने दाबी गरे । उनले भने, ‘यी नदीहरूलाई स्थायी रूपमा नियन्त्रण गर्न सकियो भने ४० हजार बिघा खेतीयोग्य जमिन उकास, कटान तथा डुबानबाट जोगाउन सकिन्छ ।’ उनले यतिधेरै जमिन नदीबाट सुरक्षित गर्न सके यहाँको सुकुम्बासी समस्या समाधान हुने दाबी गरे । उनले नदी नियन्त्रण गर्न सके व्यवस्थित रूपमा औद्योगिक क्षेत्रको विकास गराउन पनि सकिने बताए ।


जिल्लामा बर्सेनि खोलामा बाढी आउँदा ५० हजार जनसंख्या प्रभावित हँुदै आएको छ । जिल्लामा बाढीमा परी दुई वर्षमा १८ जनाको मृत्यु भइसकेको छ ।

अर्थ वाणिज्य

सादा कागजमा भन्सारको भर्पाई

- जयबहादुर रोकाया

हुम्ला– नेपालको एउटा अन्तर्राष्ट्रिय भन्सार नाकाका अधिकारीहरूसँग बिल छैन । उनीहरूले सादा कागजमा भर्पाई गरी रकम असुल्छन् । उत्तरी चीन सीमा हिल्सास्थित यारी नाका भन्सारले यसरी रकम उठाउने गरेको पाइएको हो । आधिकारिक बिलको सट्टा सादा कागजको टुक्रामा भ्याटमा जम्मा हुने रकम बुझेर भर्पाई दिने गरिएको छ । यति मात्रै होइन, उक्त भन्सार कार्यालय सहयोगीमार्फत सञ्चालन भइरहेको छ । भ्याटबापत बुझेको रकम उल्लेख गरी सादा कागजको टुक्रामा तिनले दस्तखत गर्छन् र कार्यालयको छाप हान्दै दिने गरेको पाइएको हो ।


काठामाडौंमा रहेका कार्यालय प्रमुख रामचन्द भट्टले निकासी गर्दा अपनाउनुपर्ने विधि नपुगेकाले धरौटीबापत दुईजनाबाट लिएको रकम मात्र सादा कागजको भर्पाई दिएको बताए । उनका अनुसार निकासी र पैठारी गर्दा निश्चित प्रक्रिया पूरा गरी राजस्व उठाउन मिल्छ । तर, भारतलगायत अन्य स्थानबाट ल्याइएका सामान भएकाले प्रहरीले लैजान रोक लगाएपछि धरौटीबापत सादा कागजको भर्पाई गरेर दिएको बताए । उनले एकजनाबाट २७ हजार ५ सय ६० र अर्कोबाट २९ हजार रुपैयाँ धरौटीबापत लिएको बताए । ‘अन्य निकासी र पैठारी गर्दा त्यसरी सादा कागजको भपाई गर्न मिल्दैन र गरेको पनि छैन,’ भट्टले भने ।


तिब्बत लैजान काठमाडौंबाट ल्याइएका करिब ४ लाख रुपैयाँ मूल्य बराबरका चाँदीले मोडेका भाँडाकुँडाका लागि २७ हजार ५ सय ६० रुपैयाँ बुझाउँदा कार्यालयले आधिकारिक भर्पाई नदिएर सादा कागजको टुक्रामा रकम बुझेको चिट दिएको नाम्खा गाउँपालिकाका तेन्जिन लामाले बताए । उनले कार्यालयबाटै सानो चिटजस्तो नक्कली बिल पाएको बताए ।
४ लाख मूल्यका सामान खरिद गरी ल्याउँदा लामासँग भ्याट बिल थिएन । प्यान नम्बर मात्र भएको बिल ल्याउँदा भ्याट नतिरेको देखिएकाले करबापतको रकम लिनुपरेको कार्यालयले जनायो ।


ठूलो रकम र निकासी हुने सामानको भ्याट तिरेको नदेखिएकाले भ्याट असुल गर्न धरौटीबापत दुईजनाबाट रकम लिएको कार्यालय प्रमुख भट्टले बताए ।


सहरका अधिकांश व्यापारीले सामान बिक्री गर्दा भ्याट बिल प्रयोग गर्ने गरेका छैनन् । विकट स्थानबाट सहरमा पुग्ने साना व्यापारीलाई भ्याट बिल लिनुपर्छ भन्ने जानकारी हुँदैन । कतिपय व्यापारीले धेरै सामान बिक्री गरे पनि थोरैको भ्याट बिल दिने र बाँकी सामानको नक्कली बिल भिडाएर कर छली गर्दै आएका छन् । यसको मारमा हुम्लाका तेन्जिन लामा पनि परेका हुन् ।


भन्सारले व्यापारीबाट १३ प्रतिशत भ्याट असुल्ने गरेको तिब्बतको ताक्लाकोटमा व्यापार गर्दै आएका नाम्खा गाउँपालिकाका सुनामछिरिङ लामाको आरोप छ । चीन सीमा–वार्ता तयारीका लागि हिल्सा पुगेका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले व्यापारीले सामान खरिद गर्दा भ्याट नतिरी समान निर्यात गर्न खोजेकाले व्यापारीबाट करबापतको रकम असुल्नुपरेको बताए । ‘सरकारी नीति नियमलाई फितलो बनाउँदै यारी भन्सारले एउटा कागतको चिटमा कार्यालयको छाप लगाएर व्यापारीबाट १३ प्रतिशत भ्याट असुलेको भए नियमसंगत होइन,’ कोष नियन्त्रक राजन रेग्मीले भने, ‘कर नतिरेको सामान भए जफत गर्नुपर्ने हुन्छ ।’

Page 13
विदेश

अलराउन्डर इमरान

- हिमेशरत्न वज्राचार्य

आधिकारिक तथ्यांक नभए पनि नेपालमा सबभन्दा बढी समर्थन गरिने टिम पाकिस्तान मानिन्छ । र, सायद धेरैले मन पराइएका खेलाडी इमरान खान । विश्व फुटबलमा नेपाली प्रशंसकका लागि म्याराडोना र अर्जेन्टिनाको जुन प्रभाव छ, क्रिकेटमा इमरान र पाकिस्तानको प्रभाव करिब त्यस्तै ।


यो त्यति बेलाको घटना हो, जति बेला टुँडिखेलमा क्रिकेट हुँदा धेरैले सोध्ने गर्थे, सेतो लुगा लगाएर यी मान्छे के गरिरहेका हुन् ? काठमाडौंमा क्रिकेट बुझ्नेहरू धेरै थिएनन् । तर जत्तिले बुझ्थे, तिनका लागि यो खेल नसाजस्तै थियो । त्यही बेला अन्तर्राष्ट्रिय क्रिकेट ठूलो परिवर्तनबाट गुज्रिइरहेको थियो । विश्व क्रिकेटमा वान डे, रंगीन जर्सी, टीभीबाट प्रत्यक्ष प्रसारण, ठुल्ठूला व्यावसायिक अनुबन्धले प्रवेश पाइरहेको थियो ।


यी सबै सन् ८० को मध्यतिरका हुन् । त्यही बेला पाकिस्तानका एक प्रतिभावान् क्रिकेट खेलाडीको उदय भइरहेको थियो, इमरान खानका रूपमा । यता काठमाडौंमा रेडियोमा क्रिकेट कमेन्ट्री सुन्ने पुस्ता टीभीतिर सर्दै थियो । केही भाग्यमानीको घरमा टीभी थियो र त्यसमा दृश्य सफा आउनका लागि घरको छतमा रहेको एन्टिना समय–समयमा घुमाइरहनुपथ्र्यो । त्यही बेला केही युवाले काठमाडौंमा आफ्नै पहलमा क्रिकेट खेल्न सुरु गरेका थिए ।


यो युवा समूहमा इमरान खानको ठूलो प्रभाव परेको थियो । यूएईको सारजहातिर पनि क्रिकेट प्रतियोगिता हुन सुरु भयो । त्यहाँ हुने पाकिस्तान र भारतबीचको खेलले नेपाली दर्शकलाई तान्न थाल्यो । विश्व क्रिकेटले पाएका महान् कप्तानमा गनिन्छ, इमरान खानलाई । उनको ब्याटिङ पनि चल्थ्यो, अनि बलिङ पनि । उनी उत्तिकै उम्दा अलराउन्ड थिए । सन् १९९२ मा पाकिस्तानले उनकै नेतृत्वमा वान–डेको विश्वकप जित्यो । अहिले यिनै इमरान खान पाकिस्तानका प्रधानमन्त्री हुने लगभग तय छ ।


पाकिस्तानमा बुधबार भएको आम चुनावमा उनको तेहरिक–ए–इन्साफ (पीटीआई) सबभन्दा ठूलो दल बनेको छ । र, यसका नेता इमरानले सरकार बनाउने अनुमान गरिएको छ । कुनै आधिकारिक तथ्यांक नभए पनि नेपालमा सबभन्दा बढी समर्थन गरिने टिम पाकिस्तान मानिन्छ । र, सायद धेरैले मन पराइएका खेलाडी यिनै इमरान खान । सन् ८० कै अन्त्यतिर इमरान खान काठमाडौं आएका थिए । त्यति बेला होटल मल्लमा बसेका थिए । यो कति पुराना घटना हो भने, अहिले यसै होटलका कर्मचारीलाई पनि इमरान खान आए/नआएको थाहा छैन । त्यति बेला नेपाली सञ्चार पनि अहिलेजस्तो थिएन । इमरान खानको पटक्कै चर्चा भएन । उनी आए र गए । त्यति बेला उनलाई भेट्ने अवसर पाएका एक भाग्यमानीमा पर्छन्, अशोकनाथ प्याकुरेल । युवा छँदा क्रिकेट खेलेका उनी पछि नेपाल क्रिकेट संघ (क्यान) का महासचिव भए ।


‘हामीले उनलाई होटल मल्लमा गएर भेटेका थियौं । इमरान खान होटलको बगैंचामा बसिरहेका थिए । हामीले उनीसँग हात मिलायौं र अटोग्राफ पनि लियौं,’ प्याकुरेलले भने । उनलाई इमरान खान देखेको पहिलो दृश्यमै लागेको थियो, यी निकै ‘हयान्डसम’ छन् । संयोग कस्तो भने, क्रिकेटको नाता जोडेर उनलाई भेट्न जानेमा सायद प्याकुरेल र उनका केही साथी मात्र थिए । त्यसैले इमरान खान आपैंm पनि निकै खुसी भए र उनलाई प्रश्न गरेछन्, ‘के नेपालमा पनि क्रिकेट हुन्छ र ?’ नेपालमा पनि क्रिकेट हुन्छ भन्दा उनले अचम्म मानेछन् । प्याकुरेलले त्यो अटोग्राफलाई जोगाउन सकेनन् । तर इमरान खानलाई भेट्दाको समय सम्झँदा गर्व गर्छन् । यस्तै गर्व, त्यो समय पाकिस्तानी क्रिकेट टिमलाई समर्थन गर्ने पुस्तालाई पनि हुनेछ, जसले टीभीमा क्रिकेट हेर्न पनि राम्रै मिहिनेत गर्नुपथ्र्यो । उनीहरू सबैलाई खुसी लाग्नेछ, आफूले पछयाएका क्रिकेट खेलाडी पाकिस्तानका प्रधानमन्त्री हुने तथ्यले । नेपाली फुटबल प्रशंसकमा म्याराडोना र अर्जेन्टिनाको जुन प्रभाव छ, क्रिकेटमा इमरान र पाकिस्तानको प्रभाव करिब रहेको प्याकुरेल बताउँछन् ।


ती पुराना दिन विश्व क्रिकेटबारे धेरै तथ्य थाहा पाउन नेपाली प्रशंसकसँग खासै माध्यम थिएन । यसका लागि केही भारतीय क्रिकेट म्यागाजिनमा भर पर्नुपथ्र्यो । तर पनि इमरान खानबारे चर्चा व्यापक हुन्थ्यो । जस्तो, उनले यसरी टिमको नेतृत्व गर्थे, उनका धेरैभन्दा धेरै महिला प्रशंसक थिए आदि आदि । उता पाकिस्तानमा इमरानको उनकै समकालीन खेलाडी जावेद मियाँदादसँग भएको झगडाको समाचार पनि उडेर काठमाडौं आइपुग्थ्यो ।


पाकिस्तानले वान–डे विश्वकप जित्दासम्म विश्व क्रिकेट नेपाली प्रशंसकका लागि सजिलै उपलब्ध भइसकेको थियो । यस्तोमा पाकिस्तान र इमरान खानका प्रशंसक अझ बढे । लाहोरमा जन्मेर अक्सफोर्डमा पढ्ने अवसर पाएका इमरानले इंग्ल्यान्डमा पनि आफ्नो खेल र व्यक्तित्वको मद्दतले तहल्का नै मच्चाए । एक प्रकारले उनी बदनाम पनि भए । एकपल्ट लन्डनको नाइट क्लबबाट बाहिर निस्कँदा उनले लगाएको टि–सर्टमा लेखिएको थियो, ‘बिग ब्वाइज प्ले एट नाइट’ ।


विश्वकप जितेयता उनले आफ्नी आमाको नाममा क्यान्सर अस्पताल बनाए । सन् १९९६ मा उनले पीटीआई पार्टी स्थापना गरे । त्यति बेला धेरैलाई लागेको थियो, कुलीन परिवारमा जन्मेका इमरान धेरै समय पाकिस्तानी राजनीतिमा टिक्ने छैनन् । हुन पनि उनले सुरुवाती दिनमा असफलताबाहेक अरू केही भेट्टाएनन् । तर दुई दशकभन्दा लामो कठिन संघर्षपछि उनको हातमा आएको छ, पाकिस्तानको सत्ता । नेपाली क्रिकेट प्रशंसकका तर्फबाट इमरान खानलाई रहनेछ, सफलताको शुभकामना ।

 

दिल्लीमा कौतुहल
-सुरेशराज न्यौपाने
नयाँदिल्ली– पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको तेहरिक–ए–इन्साफ (पीटीआई) पहिलो भएको छ । निर्वाचन आयोगका अनुसार पीटीआईले कुल २ सय ७२ स्थानमध्ये १ सय १४ स्थान जितेको छ ।


सरकार गठनका लागि आवश्यक १ सय ३७ स्थान प्राप्त गर्न नसकेपछि भने उनले सत्ता सहयात्री खोजी गर्नुपर्ने भएको छ । खानले भने आफ्नो दल विजयी भएको बिहीबार नै घोषणा गरेका थिए । प्रधानमन्त्री बन्ने संघारमा रहेका खान आक्रामक, कठोर र कुशल कप्तानका रूपमा चनिन्थे । भारतका पूर्वक्रिकेटकर कपिल देवलाई उद्धृत गर्दै भारतीय अंग्रेजी दैनिक द टाइम्स अफ इन्डियाले लेखेको छ, ‘इमरान एउटा कठोर कप्तान थिए । उनको नेतृत्वमा पाकिस्तानले निकै राम्रो गरेको थियो । म आशा गर्छु, उनले पाकिस्तानको प्रधानमन्त्रीका रूपमा पनि राम्रो काम गर्नेछन् ।’ उनले १९९७ को चुनावमा एउटा पनि सिट नजिते पनि इमरान निराश देखिएनन् । बरु कल्याणकारी राज्य, सुशासन र राष्ट्रवादका पक्षका चर्का नारा र आक्रामक निर्णयसहित राजनीतिको मैदानमा डटिरहे । धाँधलीको आरोपमा पीटीआईले २००८ को चुनावनै बहिस्कार गर्‍यो । २०१३ को चुनावमा भने उनको दल तेस्रो शक्ति बन्यो । अफगानिस्तानमा भएको अमेरिकी हमलादेखि मुलुकभित्रको भ्रष्टाचार र कमजोर अर्थतन्त्रजस्ता विषयलाई चर्को रूपमा उठाउँदै आएका उनले यसपटकको चुनावमा ‘नयाँ पाकिस्तान’
को नारासहित जित हासिल गरेका छन् ।


उनको विजयसँगै नयाँदिल्लीमा चिन्ता र आशंका दुवै देखिएको छ । भारतीय अखबारका समाचार तथा विश्लेषण पनि त्यही चिन्ता र आशंकामा केन्द्रित थिए, विशेषगरी खानलाई सत्तामा पुर्‍याउन पाकिस्तानी सेनाले खेलेको भूमिकाप्रति नयाँदिल्लीका विश्लेषकले बढी नै चासो देखाएका छन् । सेनाको सहयोगमा सत्तामा पुगेका खान नेतृत्वको सरकारसँग सम्बन्ध अगाडि बढाउन सहज नहुने दिल्लीको बुझाइ छ । टाइम्स अफ इन्डियाले त ‘जनरल स्माइल याज क्याप्टेन बिकम्स किङ’ भन्दै खानको जितका पछाडि सैनिकको हात भएको दाबी गरेको छ । दिल्लीका एक सुरक्षा मामिला जानकारले पनि खानको विजयलाई भारतका लागि ठूलो ‘सेटब्याक’ भएको दाबी गरे । ‘लोकतान्त्रिक मुलुक भारतले सेनाको बलमा सत्ता पुगेको सरकारलाई कसरी सहकार्य गर्न सक्छ,’ उनले भने । त्यसमाथि चुनावपछि दिएको पहिलो मन्तव्यमै खानले आफ्नो सरकारको ध्यान चीनलगायतका मुलुकसँग सम्बन्ध सुधारमा केन्द्रित हुने बताएर दिल्लीलाई थप सशंकित तुल्याएका छन् ।


क्रिकेट मैदानमा भारतविरुद्ध सधैं आक्रामक र सफल कप्तान रहेका खानले सत्ताको बागडोर सम्हालेपछि भारतसँगको सम्बन्धलाई कसरी अगाडि बढाउलान् ? भन्नेमा दिल्लीको संस्थापनमा विशेष चासो हुनु स्वाभाविक नै हो ।

Page 14
समाचार

बोझिलो प्रशासनिक संरचना

सरकारले अधिकांश केन्द्रीयस्तरका विभाग र निकायलाई संघमातहत राखेपछि कर्मचारी दरबन्दी घटाउने प्रयास विफल भएको छ ।
- राजेश मिश्र

मुलुकमा अब ३९ हजार कर्मचारी थपिँदै छन् । ८६ हजार कर्मचारी रहेकामा सरकारले दरबन्दी थपेर १ लाख २५ हजार २३ पुर्‍याएको छ ।


अधिकार सम्पन्न संघीय प्रशासनिक पुन:संरचना समितिले हालकै पूर्वाधार र कर्मचारीबाट तीन तहको प्रशासन धान्न सकिने सिफारिस गरे पनि सरकारले बोझिलो संख्या तय गरेको हो । केन्द्रमा ४५ हजार ८ सय ५८, प्रदेशमा २१ हजार ३ सय ९९ र स्थानीय तहमा ५७ हजार ७ सय ६६ कर्मचारी रहने भएका छन् ।


पूर्वमुख्यसचिव सोमलाल सुवेदी प्रशासनिक खर्च धान्नै नसकिने गरी दरबन्दी बढाउनु अनुपयुक्त ठान्छन् । ‘केन्यामा ९२ प्रतिशतसम्म प्रशासनिक खर्च भइरहेको उदाहरण छ, हामी त्यही दिशाउन्मुख छौं,’ उनले भने, ‘केन्द्र सरकार बोझिलो हुनेबित्तिकै संघीयताको अभीष्ट पूरा हुन्न । केन्द्र हाबी हुनु संघीयताका लागि खतरा हो ।’ संविधानअनुसार राज्यको शक्ति संघ, प्रदेश र स्थानीय गरी तीन तहमा बाँडिएको छ । सरकारी संरचना र कर्मचारी विभाजन पनि त्यहीअनुसार हुनुपर्ने हो । संघीयताको मर्मअनुसार काठमाडौं केन्द्रित अधिकांश केन्द्रीय तहका विभाग र कार्यालय तल्लो संरचनामा पठाइनुपथ्र्यो । कतिपय गाभिनु वा विघटन गरिनुपथ्र्यो ।


तर, सरकारले अधिकांश केन्द्रीयस्तरका विभाग र निकाय संघमातहत राखेपछि केन्द्रमा कर्मचारी दरबन्दी घटाउने प्रयास विफल भएको छ । साविकका ६३ विभाग र कार्यालयमध्ये १० वटा मात्रै अब नरहनेमा परेका छन् । असार ३२ को मन्त्रिपरिषद् बैठकले पारित गरेको सरकारको सांगठनिक संरचना र स्वीकृत दरबन्दीअनुसार केन्द्रमा धेरै कार्यालय राखिएका छन् ।
विकेन्द्रीकरणका जानकार पूर्वमुख्यसचिव सुवेदी ‘रिसोर्स र पावर’ लाई केन्द्रमै राख्ने मानसिकता देखिएको बताउँछन् । ‘फंक्सन, फन्ड एन्ड फंक्सनरी तीनवटै विषय तल नगएपछि संघीयतामा खाडल हुन्छ,’ उनले भने, ‘केन्द्रमा धेरै विभाग राख्न खोज्नु भनेको सिंहदरबारले नै चेक काट्न पाउनुपर्ने पुरानै मानसिकता हो ।’ केही महिनाअघि मात्रै सिंहदरबारबाट बाहिरिएका सुवेदीले संघसँग १६ वटा मन्त्रालय र २७ वटा विभागीय स्तरका कार्यालय मात्रै रहनुपर्ने तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सिफारिस गरेका थिए ।


पूर्ववर्ती सरकारले गठन गरेको अधिकारसम्पन्न संघीय प्रशासनिक पुन:संरचना समितिको सिफारिससमेत अहिलेको सरकारले बेवास्ता गरेको छ । समितिले केन्द्रमा १५ वटा मन्त्रालय र ३० वटासम्म विभागीय कार्यालय राख्न सुझाएको छ । केन्द्रमा ३० हजार कर्मचारीले पुग्ने अनुमान गरिएको थियो । समितिले २०७५ वैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा बोझिलो र भद्दा संगठन संरचना निर्माण नगर्ने, साधारण खर्च बढाउने परिपाटी अन्त्य गर्ने, भएकै पूर्वाधार र कर्मचारीबाट सांगठनिक संरचना व्यवस्थापन गर्नेजस्ता सुझाव समेटिएको छ ।


देउवा सरकारका पालामा राजनीतिक स्तरबाट गरिएको सिफारिस सर्वस्वीकार्य हुने भन्दै सामान्य प्रशासनमन्त्रीको अध्यक्षतमा प्रमुख दलका नेताहरू रहेको समिति गठन गरिएको थियो । उक्त समिति मातहत प्रशासनविद् काशीराज दाहालको नेतृत्वमा कार्यान्वयन सहजीकरण समिति बनाइएको थियो । दाहालको समितिले संघ, प्रदेश र स्थानीय तहमा नयाँ सांगठनिक संरचना कस्तो हुने भन्ने प्रतिवेदन तयार पारी सरकारलाई बुझाएको थियो ।


सरकारले कार्यान्वयनमा ल्याउन खोजेको संरचना बोझिलो रहेको दाहाल बताउँछन् । ‘संघीय प्रणालीमा केन्द्रीय सरकारले नीति, मापदण्ड निर्धारण, सुरक्षा, राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्त्वका कार्यसम्पादन, ठूला विकास कार्यक्रम व्यवस्थापन र नियमनको जिम्मेवारी मात्रै लिइनुपथ्र्यो,’ उनले भने, ‘अहिले गरिएको व्यवस्थापन उपयुक्त होइन, यसलाई समयमै पुनरावलोकन गरिनुपर्छ ।’ विभिन्न सिफारिस र सुझावविपरीत संघीय सरकारले मन्त्रालय संख्यासमेत बढाएर २२ पुर्‍याएको छ । मन्त्रालय बढ्नुका साथै मन्त्री तथा उच्चस्तरका कर्मचारीले मातहतका विभाग विघटन गर्न नरुचाएपछि केन्द्रीयस्तरका अधिकांश कार्यालय पुरानै स्वरूपमा रहने भएका छन् ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले सांगठनिक संरचना र कर्मचारी दरबन्दी निर्धारणका लागि ओएनएम सर्भेको जिम्मेवारी पाएका थिए । राजनीतिक र उच्चस्तरका कर्मचारीको दबाब झेल्न नसकी उनले मागअनुसारकै संरचना थप्दै गएको मन्त्रालयकै अधिकारीहरू बताउँछन् । कोइरालाले असार ३२ गते अवकाश पाइसकेका छन् ।


संघीयताका जानकार खिमलाल देवकोटाले संविधानले अधिकार र जिम्मेवारी तल्लो तहलाई बढी दिएकाले त्यसैअनुसार सांगठनिक संरचना, कर्मचारी र बजेट पनि तलै पठाइनुपर्ने बताए । ‘तहगत संरचना पिरामिड स्टाइलमा छ, सबैभन्दा बढी काम र जनताको नजिक रहेको सरकार स्थानीय तह हो, त्यसपछि प्रदेश र केन्द्र सरकारको जिम्मेवारी छ,’ उनले भने, ‘काम जहाँ बढी छ, संरचना र कर्मचारी पनि त्यहीँ हुनुपर्छ ।’ देवकोटा प्रदेश नम्बर ३ को नीति योजना आयोगका उपाध्यक्षसमेत हुन् ।


नयाँ सांगठनिक संरचनाअनुसार धेरैजसो जिल्ला र क्षेत्रीय कार्यालय भने अस्तित्वमा नरहने भएका छन् । जिल्ला, क्षेत्र र केन्द्र तहका कार्यालय संघ, प्रदेश र स्थानीय सरकार मातहत गएका छन् । साउन १ देखि तीन तहको नयाँ संरचना क्रमश: कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णय छ ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले शिक्षा, पशु सेवा, स्वास्थ्य, कृषि, प्राविधिक, वन, महिला विकासजस्ता कार्यालय विघटन भएकाले त्यहाँका कर्मचारी र भौतिक सामग्री स्थानीय तहमा पठाउन सुरु भइसकेको बताए । कृषि र पशु सेवा कार्यालय जिल्लाबाट हटाइने दाबी गरिए पनि सम्बन्धित मन्त्रालयले कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रका नाममा सुरक्षित राख्ने उपाय निकालेका छन् । ती संरचना प्रदेशमातहत रहनेछन् ।


स्थानीय तहको हकमा भने गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका लागि फरकफरक सांगठनिक संरचना तथा कर्मचारी दरबन्दी तय गरिएका छन् । जनसंख्यालाई मापदण्ड बनाई स्थानीय तहको सांगठनिक संरचना तयार पारिएको छ ।

 

केन्द्रमा खारेज भएका विभाग र सो स्तरका कार्यालयहरू

१) घरेलु तथा साना उद्योग विभाग
२) आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग
३) जल उत्पन्न प्रकोप नियन्त्रण विभाग
४) भू सूचना तथा अभिलेख विभाग
५) प्रहरी किताबखाना
६) विद्यालय शिक्षक किताबखाना
७) शिक्षा विभाग
८) अनौपचारिक शिक्षा केन्द्र
९) यान्त्रिक तालिम केन्द्र
१०) भू तथा जलाधार संरक्षण विभाग


प्रदेशमा रहने कार्यालयहरू

१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयको संख्या–७
२) वन निर्देशनालय
३) वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र
४) डिभिजन वन कार्यालयहरू
५) भू तथा जलाधार व्यवस्थापन कार्यालयहरू
६) उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
७) घरेलु तथा साना उद्योग कार्यालयहरू
८) यातायात पूर्वाधार निर्देशनालय
९) यातायात व्यवस्था कार्यालयहरू
१०) पूर्वाधार विकास कार्यालयहरू
११) सहरी विकास तथा भवन कार्यालयहरू
१२) खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरू
१३) जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयहरू
१४) शिक्षा विकास निर्देशनालय
१५) शिक्षा तालिम केन्द्र
१६) स्वास्थ्य निर्देशनालय
१७) स्वास्थ्य कार्यालयहरू
१८) अञ्चल तथा जिल्ला अस्पतालहरू
१९) अञ्चल तथा जिल्ला आयुर्वेद औषधालयहरू
२०) कृषि विकास निर्देशनालय
२१) कृषि तालिम केन्द्र
२२) कृषि ज्ञान केन्द्र
२३) पशुपन्छी तथा मत्स्य विकास
निर्देशनालय
२४) भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र
२५) पशु सेवा तालिम केन्द्र
२६) सहकारी प्रशिक्षालय
२७) प्रदेशसभा सचिवालय
२८) मुख्य न्यायाधिवक्ताको कार्यालय
२९) प्रदेश लेखा नियन्त्रकको कार्यालय


संघीय सरकारमातहत रहने गरी कायम गरिएका जिल्लास्थित कार्यालय

१) जिल्ला प्रशासन कार्यालय
२) जिल्ला प्रहरी कार्यालय
३) कोष तथा लेखा नियन्त्रक कार्यालय
४) जिल्ला हुलाक कार्यालय
५) जिल्ला कारागार
६) जिल्ला निर्वाचन कार्यालय
७) जिल्ला सरकारी वकिल कार्यालय
८) जिल्ला अदालत
९) मालपोत
१०) नापी
११) जिल्ला समन्वय समिति (स्थानीय सरकारको संरचना)
जिल्ला, अञ्चल वा क्षेत्रस्तरमा रहेका निम्न कार्यालयहरू पनि संघीय सरकारमातहत
रहनेछन्:
१) करदाता सेवा, २) आन्तरिक राजस्व, ३) भन्सार, ४) राजस्व अनुसन्धान, ५) गुणस्तर तथा नाप तौल कार्यालय, ६) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, ६) यान्त्रिक कार्यालय, ७) क्वारेन्टिन कार्यालय, ८) खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय ९) पशु क्वारेन्टाइन कार्यालय १०) पशुपन्छी रोग अन्वेषण प्रयोगशाला ११) राष्ट्रिय पशु प्रजनन कार्यालय १२) सडक डिभिजन कार्यालय १३) हेवी इक्विपमेन्ट डिभिजन, १४) वनस्पति अनुसन्धान केन्द्र १५) श्रम तथा रोजगार कार्यालय १६) औषधि व्यवस्था विभाग शाखा कार्यालय १७) लोकसेवा र अख्तियारका कार्यालयहरू


महानगरपालिका तथा उपमहानगरपालिकाको संरचना

१) सामान्य प्रशासन निर्देशनालय
२) पूर्वाधार तथा सहरी विकास निर्देशनालय
३) आर्थिक सामाजिक विकास निर्देशनालय
४) सामान्य प्रशासन महाशाखा
५) कानुन न्याय तथा मानव अधिकार प्रवद्र्धन महाशाखा
६) राजस्व व्यवस्थापन महाशाखा
७) आर्थिक प्रशासन महाशाखा
८) सहरी पूर्वाधार विकास महाशाखा
९) भूमि व्यवस्थापन तथा सहरी विकास महाशाखा
१०) योजना, अनुगमन तथा सूचना प्रविधि महाशाखा
११) स्वास्थ्य तथा सामाजिक महाशाखा
१२) शैक्षिक प्रशासन महाशाखा
१३) आर्थिक विकास माहाशाखा
१४) वातावरण तथा विपद् व्यवस्थापन महाशाखा
संघीय राजधानी रहेको महानगरपालिका, अन्य महानगर र उपमहानगरको सांगठनिक संरचनामा माथि उल्लिखित महाशाखाहरूमा सामान्य हेरफेर भने रहनेछ ।


नगरपालिकामा रहने शाखाहरू

१) प्रशासन तथा योजना अनुगमन शाखा
२) पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा
३) स्वास्थ्य तथा सामाजिक विकास शाखा
४) कानुन शाखा
५) शिक्षा, युवा तथा खेलकुद शाखा
६) आर्थिक विकास शाखा
७) आर्थिक प्रशासन शाखा
२५ हजारभन्दा मुनिदेखि ७५ हजारभन्दा माथि जनसंख्या रहेका नगरपालिकाहरू रहेकाले जनसंख्याअनुसार सांगठनिक संरचनामा सामान्य फरक–फरक हुनेछ


गाउँपालिकमा रहने शाखाहरू

१) प्रशासन, योजना तथा अनुगमन शाखा
२) पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा
३) स्वास्थ्य तथा सामाजिक विकास शाखा
४) शिक्षा, युवा तथा खेलकुद शाखा
५) आर्थिक विकास शाखा
६) आर्थिक प्रशासन शाखा
(जनसंख्याको मापदण्डअनुसार शाखाको संख्या फरकफरक रहनेछ)

समाचार

सदाचार नीतिको मस्यौदामा राष्ट्रसंघको आलोचना

- घनश्याम खड्का

काठमाडौं– राष्ट्रसंघका विशेष प्रतिनिधिले नेपाल सरकारले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीतिले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्रतापूर्वक भेला हुने
हकमा गम्भीर आघात पुग्ने भन्दै सच्याउन आग्रह गरेका छन् ।


विशेष प्रतिनिधिहरू डेभिड काय, क्लेमेन्ट न्यालेत्सोस्सी, माइकल फस्र्ट र अहमेद सहिदले सरकारलाई बुझाएको प्रतिवेदनमा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको उल्लंघन हुने गरी घरेलु ऐन कानुन नबनाउन ध्यानाकर्षण गराइएको छ ।


काय राष्ट्रसंघको अभिव्यक्ति स्वतन्त्रताको संवद्र्धन र संरक्षण, भौले शान्तिपूर्ण भेला तथा संगठित हुने अधिकार, फस्र्ट मानव अधिकार रक्षकहरूको अवस्था र सहिद धार्मिक स्वतन्त्रतासम्बन्धी विशेष प्रतिनिधि हुन् । अघिल्ला प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा मस्यौदा सुरु गरिएको सदाचार नीति हाल मन्त्रिपरिषद्मा विचाराधीन छ । उक्त नीति यही रूपमा पारित भए अभिव्यक्ति र संघसंस्था खोल्ने स्वतन्त्रता कटौती हुने प्रतिवेदनमा उल्लेख छ ।


‘विशेषगरी यसले अभिव्यक्ति स्वतन्त्रता र संघसंस्था खोल्ने स्वतन्त्रता उल्लिखित नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी राष्ट्रसंघीय महासन्धिको धारा १९ र २२ को अभ्यासमा असर पार्नेछ,’ प्रतिवेदनमा भनिएको छ, ‘हामी नेपाल सरकारका अधिकारीहरूलाई राष्ट्रिय ऐनहरू अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुकूल हुने गरी बनाउन आग्रह गर्छाैं ।’
नीतिको दफा ९.२.४ (७) मा उल्लिखित ‘अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले संगठित रूपमा प्रभाव पार्न र दबाब दिन नपाउने’ र ९.२.४ (८) मा उल्लिखित ‘नेपालविरुद्ध अवाञ्छित लाञ्छना लगाउन, हीन वा द्वेष भावना पैदा गराउन वा घृणा सामग्री तयार गरी आफ्नो देशमा पठाउन र प्रचार गर्न नपाइने’ भन्ने प्रावधानले अभिव्यक्ति स्वतन्त्रतामा आघात पुग्ने विशेष प्रतिनिधिहरूले जिकिर गरेका छन् ।


दफा ९.२.४ (१०) उल्लिखित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले ‘आफैंले सिधै परियोजना सञ्चालन गर्न नपाउने’ र ९.२.४ (११) को ‘नेपाल सरकारको अनुमतिबिना कुनै प्रतिवेदन सिधै आफ्नो देश पठाउन नपाउने’ प्रावधानको पनि उनीहरूले विरोध गरेका छन् ।


दफा ९.२.४(१४) को ‘नेपालको सभ्यता, संस्कृति, सामाजिक सम्बन्ध र सद्भावविपरीत काम गर्न नहुने’ र दफा ९.२.४(१५) को ‘आफ्ना मुलुकका धार्मिक, सामाजिक वा अन्य एजेन्डामा झुकाव (राख्न) वा लागू गर्न नपाइने’ प्रावधान पनि प्रतिनिधिहरूले अभिव्यक्ति स्वतन्त्रताको हकविपरीत भनी टिप्पणी गरेका छन् । दफा ९.२.४ (२४) ले धर्म परिवर्तनलाई दण्डनीय भन्दै त्यसो गर्नेलाई सजाय गर्ने प्रस्तावसमेत गरेको छ, जसलाई हटाउनुपर्ने उनीहरूको माग छ ।


सदाचार नीतिको दफा ९.२.३ (१२) ले ‘नेपालविरुद्ध अवाञ्छित लाञ्छना लगाउने, हीन वा द्वेष भावना पैदा गराउने वा घृणा सामग्री तयार गर्ने कुनै गैरसरकारी संस्थाको पक्षपोषण गर्न नहुने’ भन्दै गैरसरकारी संस्थाका गतिविधिबारे उल्लेख गरेको छ । यसलाई उनीहरूले स्वतन्त्रतापूर्वक भेला हुने अधिकारमा कटौती भनेका छन् । गैरसरकारी संस्थाहरूलाई विदेशीबाट सहयोग लिने र नलिने गरी दुई वर्गमा विभाजित गरी सहयोग लिनेहरूले नियमित रूपमा हिसाब बुझाउन पर्ने व्यवस्था गरिएको छ ।


विशेष प्रतिनिधिले यसलाई झन्झटिलो प्रक्रिया भन्दै गैरसरकारी संस्थालाई काम गर्न बाधा पुग्ने जिकिर गरेका छन् । गैरसरकारी संस्थाहरूले नेपालको कानुन वा नीति निर्माणमा दबाब दिन नहुने पनि नीतिमा उल्लेख छ । एउटा संस्थामा एकै परिवारका दुई व्यक्ति कार्यकारी तहमा बस्न नपाउने र एकै व्यक्ति दुई कार्यकालसम्म बस्न नपाउने नियममा पनि प्रतिनिधिले आपत्ति जनाएका छन् ।

Page 15
खेलकुद

लर्डसको उत्साह

- विनोद पाण्डे
दुई वर्षअघि लर्डसमा नेपालले एमसीसीसँग खेल्दा कप्तान पारस खड्का ब्याटिङ गर्दै  । फाइल तस्बिर : कान्तिपुर

विश्व क्रिकेटको ‘मक्का’ लर्डसमा खेल्न पाउनु जोकोही क्रिकेट खेलाडीको लक्ष्य हुन्छ । टेस्ट राष्ट्रको पकड रहेकाले अझ एसोसिएट राष्ट्रका लागि यो एउटा सपनाजस्तै हुन्छ । नेपाली क्रिकेट खेलाडी यस मामलामा धेरै भाग्यमानी मान्नुपर्छ । दुई वर्षको अन्तरमा दोस्रोपल्ट नेपाल ‘होम अफ क्रिकेट’ मा खेल्दैछ ।


बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापित भएका २ सय वर्ष पूरा गरेको मौका छोपेर नेपालले दुई वर्षअघि लर्डसको ढोका खोलेको थियो । ठीक दुई वर्षपछि नेपालले पुन: लर्डसमा खेल्न लागेको हो । एक हिसाबले विश्व क्रिकेटको पवित्रस्थल मैदान नेपालका लागि पानीपँधेरो जस्तै हुँदै छ । भविष्यमा लर्डसले नेपाली क्रिकेटलाई हेर्ने दृष्टिकोण अझै फराकिलो हुने संकेत देखिएको छ ।
नेपालले आइतबार आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्स सम्मिलित एकदिने त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा प्रतिस्पर्धा गर्दै छ । सन् २०१६ मा एमसीसीसँग खेल्दा वान–डेको परम्परागत
सेतो कपडामा उत्रिएको नेपाल यसपालि क्रिकेटको छोटो संस्करणमा उत्रँदा रंगीचंगी पहिरनमा हुनेछ ।


दुई वर्षअघि नेपालले एसोसिएट राष्ट्रको हैसियतमा लर्डसमा पहिलो पाइला राखेपछि गत वर्ष त्यसलाई पछयाउँदै अफगानिस्तान लन्डन पुगेको थियो । अफगानिस्तान त्यसयता टेस्ट राष्ट्र बनिसकेको छ । अन्य एसोसिएट राष्ट्रले यस्तो मौका पाइ नरहेको अवस्थामा नेपालले दोस्रोपल्ट ऐतिहासिक रूपमा लर्डसमा खेल्न लागेको हो ।


‘लर्डसमा खेल्न पाउँदा सधैं उत्साहित हुन्छौं,’ नेपालका कप्तान पारस खड्काले लन्डनबाट कान्तिपुरसँग भने, ‘प्रत्येक खेलाडीको लर्डसमा खेल्ने सपना हुन्छ । हामीले फेरि यहाँ खेल्ने अर्को अवसर पाएका छौं ।’ इंग्लिस काउन्टी क्लब मिडलसेक्सको घरेलु मैदान हो लर्डस । मिडलसेक्सबाट १० वर्ष खेलेका निक कोम्टन एमसीसी टोलीमा छन्, जो नेपाल र नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रनेछन् ।


इंग्ल्यान्डका यी ब्याट्सम्यानमात्र एमसीसीका परिचित अनुहार होइनन् । श्रीलंकाको विश्व टान्टी–२० विजेता खेलाडी माहेला जयवद्र्धनेको कप्तानीमा रहने एमसीसीमा इंग्ल्यान्डका पूर्व ब्याट्सम्यानहरू इयान बेल, जोनाथन ट्रोट, विकेटकिपर जेम्स फोस्टर, जिम्बावेका पिटर मुर, स्कटल्यान्डका डिलन बुज, एलास्डाएर इभान्स र मार्क वाटलगायत छन् ।
लर्डसको यही खेलले अर्को संयोग जुराइदिएको छ । नेदरल्यान्ड्ससँगको खेलबाट नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पुनरागमन गर्दै छ । २०१५ को जुलाईमा पपुवा न्युगिनीसँग खेले यता नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको छैन । २०१३ को विश्व ट्वान्टी–२० मा छनोटमा तेस्रो भएर विश्वकपमा पुगेसँगै नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यो लामो समय टिकेन । २०१५ मा आयरल्यान्डमा भएको विश्व ट्वान्टी–२० छनोटमा दोस्रो अन्तिममा रहेपछि नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता गुमाएको थियो । त्यसपछि नेपालले पहिलोपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

दुई वर्षअघि लर्डसमा नेपालले एमसीसीसँग खेल्दा कप्तान पारस खड्का ब्याटिङ गर्दै र रंगशालामा उपस्थित नेपाली दर्शक । फाइल तस्बिर : कान्तिपुर


एमसीसीले नेपाल र नेदरल्यान्ड्सलाई लर्डसमा तटस्थ भूमिको आतिथ्यता प्रदान गरेपछि आईसीसीले यस खेललाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता दिएको हो । मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालसँग अहिले चारवर्षका लागि ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पनि रहेको छ । ‘लर्डससँगै टान्टी–२० अन्तर्राष्ट्रियको प्रतीक्षामा पनि छौं, नेपाली क्रिकेटका लागि यो उत्साहित हुने समय हो,’ पारस भन्छन्, ‘पछिल्लोपल्ट लर्डसमा खेल्दाको सम्झना अद्भूत छ । आशा छ यसपालि पनि त्यस्तै राम्रो प्रदर्शन दोहोर्‍याउँदै इतिहास रच्नेछौं ।’


पछिल्लोपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दाका पारससहित ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र सुवास खकुरेल गरी ७ खेलाडीमात्र नेपाली टोलीमा छन् । सुवास तीन वर्षपछि राष्ट्रिय टोलीको आधिकारिक खेलबाट पुनरागमन गर्ने प्रयासमा छन् । बाँकी ८ खेलाडी २०१५ को विश्व ट्वान्टी–२० छनोट चरणयताका हुन् । त्यसको झन्डै एक वर्षपछि सन्दीप लामिछानेले उमेरले १५ छँदा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । विश्व ट्वान्टी–२० छनोटपछि टोलीमा आएका ८ मध्ये सन्दीप यस्ता खेलाडी हुन् जसले ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्, त्यो पनि लर्डसमा ।


मेमा भारतमा इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्ससँग रहेको बेला सन्दीपलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्व ११ को टोलीमा राखेको थियो । सन्दीपले आईसीसी विश्व ११ बाट वेस्ट इन्डिजसँग खेल्दै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरेका थिए । पाकिस्तानी अलराउन्डर शहिद अफ्रिदीको कप्तानीमा उनले उक्त खेलमा १ ओभरमात्र बलिङ गर्न पाएका थिए । उनले नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेर विकेट लिन बाँकी नै छ । यही आसमा अन्य बलरहरू करण केसी, ललितसिंह भण्डारी र ललितनारायण राजवंशी पनि छन् ।

खेलकुद

ओमानसँग नेपालको पहिलो खेल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपालले एसीसी एसिया कप छनोटमा ओमानसँग पहिलो खेल खेल्ने भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) ले मलेसियामा अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म हुने प्रतियोगिताको खेलतालिका शुक्रबार प्रकासित गरेको हो ।


नेपाल र हङकङसहित प्रतियोगितामा आयोजक मलेसिया, यूएई, ओमान, सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । नेपालले ओमानसँग अगस्ट २९ मा बायुमास ओभलमा खेलेपछि ३० मा यूएई, सेप्टेम्बर १ मा मलेसिया, २ मा सिंगापुर, ४ मा हङकङसँग खेल्नेछ । राउन्ड रोबिनमा एकले अर्कोसँग प्रतिस्पर्धा गरेपछि प्रतियोगिताका शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।


उपाधि जित्ने टोलीले सेप्टेम्बर १५ देखि २८ सम्म यूएईमा हुने एसिया कपमा स्थान पाउने छ । एसिया कप छनोट विजेताले एसिया कपमा समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै रहनेछ । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

खेलकुद

अनुको दोस्रो अध्याय

नेपालले भारतमा सम्पन्न साफ च्याम्पियनसिप खेल्दा अनु शल्यक्रिया गरेर विश्राममा थिइन् । उनले त्यतिबेला प्रतिज्ञा गरिन् अर्कोपल्ट साफ च्याम्पियनसिपको उपाधि जित्ने ।
‘भारतलाई हराउने मेरो पहिलादेखिको लक्ष्य हो । त्योभन्दा बढी राष्ट्रिय टोलीबाट उपाधि जित्नु छ । सायद दुवै लक्ष्य प्राप्त गर्ने मेरा लागि यो अन्तिम मौका हुनेछ ।’
- सुबास हुमागाईं

काठमाडौं– राष्ट्रिय फुटबलर अनु लामा दुई वर्षअघि भदौरे घाममा हल्चोकस्थित एपीएफ मैदान प्रशिक्षणरत थिइन् । आसन्न प्रधानसेनापति कप र त्यसपछि हुने साफ च्याम्पियनसिपको तयारीमा रहेकी उनीमाथि त्यसैक्रममा बज्रपात पर्‍यो । प्रशिक्षणकै क्रममा उनको घुँडामा चोट लाग्यो । पछि विस्तृत परीक्षणमा हेर्दा शल्यक्रिया गर्नुपर्ने भयो । यसको मतलब अनुले आसन्न प्रतियोगिता गुमाउने त भइन् नै, उमेरका कारण उनको पुनरागमनबारे पनि शंका थियो । जतिखेर उनी विभागीय टोली एपीएफ एवं राष्ट्रिय फुटबल टोलीकी कप्तान थिइन् ।


अनुको अनुपस्थितिमा एपीएफले प्रधानसेनापति कपको उपाधि त जित्यो तर राष्ट्रिय टोलीमा उनको स्थान सायदै कसैले लिनसक्थे । तत्कालीन महिला टोलीका प्रशिक्षक कुमार थापासँग अनुको विकल्पमा अर्की अनुभवी खेलाडी निरु थापा थिइन्, जो अनुको शैलीमा खेल्न सक्थिन् र राष्ट्रिय टोलीको पनि अनुभव थियो । तर प्रशिक्षणमा निरुले अपेक्षित प्रदर्शन गर्न नसक्दा अन्तिम टोलीमा अटाउन सकिनन् । प्रशिक्षक थापाले त्यतिबेला राष्ट्रिय टोलीमा अनुभवभन्दा पनि लयमा रहेका खेलाडीलाई टोलीमा समेटेका थिए । जसका कारण अन्य केही अनुभवी खेलाडी पनि टोलीमा पर्न सकेनन् ।


साफ च्याम्पियनसिपमा अनुको स्थानमा प्रशिक्षक थापाले आर्मीकी शर्मिला थापामगर र एपीएफकी सरु लिम्बूलाई प्रयोग गरे । दुवैले लयमा रहेकी सावित्रा भण्डारीलाई अपेक्षित साथ दिन सकेनन् । मिडफिल्ड र फरवार्डको बीचमा रहेर निभाउने उक्त भूमिकामा दुवै खेलाडी फिक्का देखिए । लिग चरणका सहज जितमा गोल गरे पनि प्रशिक्षक थापा आफैं उनीहरूको प्रदर्शनबाट खुसी थिएनन् । सावित्राको भरमै आक्रमण टिकेको नेपालले सेमिफाइनलमा भारतलाई दबाबमा राखेपनि जित दर्ता गर्न सकेन । अनुको अनुपस्थितिमा आक्रमण त फितलो थियो नै, नेपाली टोलीमा मैदानभित्र अनुभवी नेतृत्वको कमी झल्केको थियो ।


नेपालले भारतमा सम्पन्न साफ च्याम्पियनसिप खेल्दा अनु शल्यक्रिया गरेर विश्राममा थिइन् । उनले त्यतिबेला प्रतिज्ञा गरिन् अर्कोपल्ट नेपालमै हुने साफ च्याम्पियनसिपको उपाधि नेपालमा राख्ने । उनलाई शल्यक्रियापछि ठीक हुन सोचेभन्दा केही बढी समय लाग्यो । उनलाई हतारो पनि केही थिएन र साफलक्षित गरेर तयारी थालिन् । केही महिनाअघि मात्र मैदानमा सामान्य व्यायामबाट फर्केकी उनले सोमबार प्रतिस्पर्धात्मक खेलमा पुनरागमन गरिन् । र, मैदान फर्केको खेलमा गोल पनि गरिन् ।


पुनरागमन गरेकै खेलमा गोल गर्न सक्दा अनु निकै खुसी थिइन् । ‘मैदान फर्केको पहिलो खेलमै गोल गर्न सकें । शल्यक्रियापछि यो अवस्थामा आउन सक्छु भन्नेमा आफैंलाई डर थियो । नियमित डाक्टरको सल्लाहअनुसार आफूलाई तयार गरें र यहाँ आइपुगें,’ जारी लिग फुटबलमा एपीएफको दोस्रो जितपछि उनले भनिन्, ‘अहिले केही दुखाइ छैन । म्याच फिटनेसका लागि निरन्तर मिहिनेत गरिरहेको छु ।’


महिला राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक हरि खड्का अनुजस्तो अनुभवी र स्तरीय खेलाडी टोलीमा फर्कनुलाई सकारात्मक रूपमा हेर्छन् । ‘चोट भनेको जो–कोही खेलाडीलाई लाग्न सक्छ । अहिले अनु चोटबाट भर्खर फर्केकी छन् । मैले दुवै खेलमा उनको प्रदर्शन नियालेको छु । उनीजस्तो प्राविधिक रूपमा निपुण खेलाडी सायदै होला तर फिटनेस पनि मुख्य पाटो हो,’ खड्काले भने, ‘हामीले अब उनको फिटनेस हेरेर प्रशिक्षणको प्रदर्शन पनि हेर्नुपर्छ । लिग समापनपछि हामीले खेलाडीलाई लामो अवधिको प्रशिक्षणमा राख्छौं, त्यसले नै उनको भविष्य निर्धारण हुनेछ ।’


उनले जारी लिगपछि अर्को प्रतियोगितालाई पनि सम्भावना रहेकाले अनुसँग अझै फिटनेसमा आउन समय रहेको बताए ।


राष्ट्रिय टोलीमा अनुले ३५ गोल गर्दै सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाम राखेकी छिन् । उनको अनुपस्थितिमा सावित्राले गोल गर्ने जिम्मेवारी लिँदै नियमित गरिरहेकी छन् । दुवैले १२ औं दक्षिण एसियाली खेलकुदमा एकैपटक राष्ट्रिय टोलीबाट खेलेका थिए । त्यसयता आफ्नो खेललाई निखारेकी सावित्रा अनुको आगमनले टोलीलाई निकै फाइदा पुग्ने तर्क राख्छिन् ।


‘अनु दिदी टोलीमा फर्कनु भनेको निकै राम्रो पक्ष हो । प्राविधिक रूपमा उहाँले मेरो खेल बुझ्नुभएको छ र मैले उहाँको । क्लब फुटबलमा नियमित प्रशिक्षण र खेलले गर्दा हाम्रो तालमेल पनि मिलेको छ,’ पछिल्ला प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि आफ्नो नाम गर्दै आएकी सावित्राले भनिन् । राष्ट्रिय टोलीबाट साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा अनुको पुनरागमनले महत्त्वपूर्ण भूमिका खेल्ने उनको बुझाइ छ । ‘अनु दिदीको अनुभव राष्ट्रिय टोलीमा निकै महत्त्वपूर्ण हुनेछ । हामीले राष्ट्रिय टोलीको लामो प्रशिक्षणमा टोलीबाट एकीकृत भएर खेल्ने र उपाधि भित्र्याउने लक्ष्य राखेका छौं । खेलाडीसँगै व्यवस्थापन र प्रशिक्षण पनि राम्रो हुने हो भने हाम्रो लक्ष्य पुरा हुनेछ,’ उनले भनिन् ।


एन्फाले साफ च्याम्पियनसिपलाई ध्यानमा राख्दै जिल्लास्तरका दुई उत्कृष्ट टोलीलाई समेटेर तीन विभागीय टोलीसहित ५ टोलीको सिंगल राउन्डमा राष्ट्रिय लिग आयोजना गरिरहेको छ । खेलाडी छनोटका लागि प्रारम्भिक आधार मानिएको यस लिगमा सबै टोलीले ४–४ खेल खेल्नेछन् । एन्फाले प्रदेशस्तरीय लिग गर्ने तयारी पनि थालेको जनाएको छ । यसपालि साफ च्याम्पियनसिपका लागि लामो तयारी थाल्ने र वैदेशिक प्रतियोगितामा पनि सहभागिता जनाउने एन्फाको योजना छ । कागजी योजनालाई वास्तविकतामा बदले नेपाली टोलीको सम्भावना बलियो देखिन्छ ।


यसअघि नेपालले आयोजना गर्ने भनिएको साफ महिला च्याम्पियनसिप अब डिसेम्बर १७ देखि २६ सम्म श्रीलंकाले आयोजना गर्ने भएको छ । हालसम्मका चार संस्करणमा चारैपल्ट भारतसँग पराजित नेपाल तीनपल्ट उपविजेताको बिल्ला भिर्दै घर फर्केको छ । यसपालि भारतलाई हराउने त छँदै छ, अनु उपाधिसहित राष्ट्रिय टोलीबाट बिदा लिन चाहन्छिन् । ‘भारतलाई हराउने मेरो पहिलादेखिको लक्ष्य हो । त्योभन्दा बढी राष्ट्रिय टोलीबाट उपाधि जित्नु छ । सायद दुवै लक्ष्य प्राप्त गर्ने मेरा लागि यो अन्तिम मौका हुनेछ । राष्ट्रिय टोलीबाट बिदा लिने यो सुवर्ण अवसर आफैं सिर्जना गर्न तत्पर छु,’ उनले टुंग्याइन् ।

खेलकुद

सावित्राको चार गोल

महिला लिग फुटबल
- कान्तिपुर संवाददाता
राष्ट्रिय लिगमा शुक्रबार बल अगाडि बढाउँदै गरेकी एपीएफकी सावित्रा भण्डारी (दायाँ) रोक्ने प्रयासमा रौटहटकी खेलाडी । तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौं (कास)– स्टार फरवार्ड सावित्रा भण्डारीको चार गोलसँगै डिफेन्डिङ च्याम्पियन एपीएफले उपराष्ट्रपति महिला लिग फुटबलमा शुक्रबार रौतहटलाई ७–० ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सावित्राले ३० औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । पेनाल्टीमार्फत ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी उनले ५५ औं मिनेटमै ह्याट्रिक पूरा गरिन् । उनले चौथो गोल इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेकी हुन् ।

यससँगै लिगमा सावित्राको गोल संख्या ९ पुगेको छ । यसअघि काठमाडौंमाथि १०–० को जितमा उनी एक्लैले ५ गोल गरेकी थिइन् । खेलमा पहिलो गोल भने सरु लिम्बूले गरेकी थिइन् । उनले छैटौं मिनेटमै एपीएफलाई अग्रता दिलाएकी थिइन् । उनले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपिन् । अनिता बस्नेतले पनि ७९ औं मिनेटमा गोल गरेकी थिइन् ।


दोस्रो खेलमा आर्मीले काठमाडौं जिल्ला फुटबल संघमाथि ८–० को जित निकाल्यो । त्यसमा दीपा राईले ह्याट्रिक पूरा गरिन् । विमला बिकेले २४ औं मिनेटमा गोलको खाता खोलेको खेलमा कप्तान कृष्णा खत्रीले दुई तथा इन्दिरा राई र कविता धिमालले एक–एक गोल गरेका थिए ।

Page 16
खेलकुद

‘लटरपटर’ फुटबल

रेलिगेसनबिनाको लिगले यसको ‘पिरामिड’ शैली बिगार्छ । यसले आउने दिनमा विकृति ल्याउँछ । लिगमा रोमाञ्चकता नै हुनेछैन । टिमलाई खेल जित्नमा कुनै रूचि नै हुँदैन । यस्तोमा किन राम्रो टिम बनाउने ?
- हिमेश

यस्तै परिस्थितिमा हो नेपाली फुटबलमा ललितकृष्ण श्रेष्ठको अनुपस्थिति खडकने । उनी अब फेरि फर्कने त छैनन् तर उनी आफूलाई बेस्वाद र बेथितिको केही काम भयो कि एक शब्द दोहोर्‍याइहाल्थे ‘लटरपटर’ । यति सम्झना नेपाली फुटबलसँग नजिक रहेका सबैलाई छ । अहिले जुन स्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक लिगको ‘ए’ डिभिजन गर्न लागेको छ । त्यसको सार एक शब्दमै खिच्ने हो भने त्यसका लागि सबैभन्दा उपयुक्त हुन्छ, त्यही ‘लटरपटर’ ।


यस्तो किन भन्दा यसपालि त्यो लिग हुन लागेको छ, बिना रेलिगेसनको । लिग फुटबलको दुई प्रमुख अत्यावश्यक विशेषता हो, प्रमोसन र रेलिगेसन । हाम्रो पारामा भन्दा, बढुवा र घटुवा । लिग ‘पिरामिड’ शैलीको हुन्छ र यसमा केही टिम माथि चढिरहेका हुन्छन्, केही टिम तल झरिरहेका हुन्छन् । यस्तो हुन्न त लिग किन हुन्थ्यो ? एन्फा भने अहिले पनि जिद्दी गरिरहेको छ, हामी लिग गर्छौं र यो रेलिगेसनबिनाकै हुन्छ । विशेषत: एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको दाबी छ, नेपाली फुटबल अहिले रेलिगेसनसहितको लिगलाई तयार नै छैन ।


यसका लागि त एक वर्षदेखिको तयारी चाहिन्छ, जुन समय अहिले उनीहरूलाई उपलब्ध छैन । भलै, उनले एन्फा अध्यक्षमा पहिलोपल्ट आफ्नो उम्मेदवारी घोषणा गर्दा भन्थे, ‘हामी तीन महिनाभित्र लिग गर्छौं, किनभने हामीसँग यस्तो गर्ने क्षमता छ ।’ त्यो घोषणाको ‘रेकर्ड’ धेरैसँग छ । उनले त्यसमा जे जति दाबी गरेका छन्, त्यसमध्ये के–के पूरा गर्ने छैनन्, त्यो भविष्यमा लेखाजोखा गर्न खुबै काम आउने छ । अहिले तत्काल उनी लिगको त्यो वास्तविक स्वरूपबाट टाढिएका छन् । रेलिगेसनसहितको लिगका लागि एन्फाले साँच्चै किन यस्तो जिद्दी गरिरहेको छ त ? खासमा यो नै घिनलाग्दो फुटबल राजनीति हो । हाका–हाकी भन्न सक्छौं, चुनावका बेला धेरै ‘ए’ डिभिजन क्लबसँग यस्तै लिग गर्ने सहमति भएको थियो । यही सहमतिका लागि अहिले लिगलाई कुरुप शैलीमा प्रस्ततु गरिँदैछ । यस्तो लिग गर्नुको पछाडि एन्फाले एउटा तर्क दिनसक्छ, तर यस्तो लिग किन गर्नुहुँदैन भनेर त्योभन्दा धेरै गुणा बढी तर्क दिन सकिन्छ ।


रेलिगेसनबिनाको लिगले यसको ‘पिरामिड’ शैली बिगार्छ । यसले आउने दिनमा विकृति ल्याउँछ । लिगमा रोमाञ्चकता नै हुनेछैन । टिमलाई खेल जित्नमा कुनै रूचि नै हुँदैन । यस्तोमा किन राम्रो टिम बनाउने ? अनि किन धेरै राम्रा खेलाडी टिममा राख्ने ? यस्तो लिग गर्नु भनेको नेपाली फुटबलमा एक पाइला पछाडि सर्नु हो । परिवर्तनको नारा दिएर नेतृत्व पाएकाले त एक पाइला अगाडि सरेर पो काम गर्नुपर्ने । केही राम्रो गृहकार्य गरेर अर्ध–व्यावसायिक लिग पो गर्ने कि ? खेलाडीको लिलामी शैली पो ल्याउने कि ? त्यस्तोमा केही रूचि भएन । आउने दिन त क्लब फुटबलका लागि अझ कठिन दिन आउँदै छ । एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्सिङ कार्यक्रम लागू हुनेछ । क्लबले धेरै सर्त पूरा गर्नुपर्ने हुन्छ । खासमा एन्फाको काम हाम्रा क्लबलाई त्यसैअनुसार स्थापित गराउन मदत गर्ने हो तर अहिले त्यसको ठीकविपरीत काम भइरहेको छ । असोज १३ बाट साँच्चै रेलिगेसनबिनाको लिग सुरु हुन्छ भने आउने दिन यसलाई खराब उदाहरण दिनमात्र प्रस्तुत हुनेछ ।


इतिहासले यसलाई कलंकको लिग मान्नेछ । अझै पनि सच्चिने दिन छ । किनभने असोज १३ अझै टाढा छ । विश्व फुटबलमा लिगअगाडिको ‘वार्मअप’ लिग भन्ने हुन्न । त्यसो त विश्वमा केही यस्ता लिग पनि छन्, जसमा रेलिगेसन हुन्न । तर यी नितान्त फरक लिग हुन् । यस्ता लिग फ्रेन्चाइज शैलीका हुन्छन् । प्रत्येक टिमले एक निश्चित मोटो रकम खर्चिन तयार हुनुपर्छ । यसको ढंग नै फरक हो । सहिद स्मारक लिग त्यस्तो पटक्कै होइन ।


अध्यक्ष शेर्पाले चुनावका बेला धेरै आश्वासन दिएका छन् । धेरैलाई यस्तो गर्छु र उस्तो गर्छु भनेर वचन दिएका छन् । उनी अहिले त्यसकै मारमा फसिरहेका छन् । उनले नेतृत्व सम्हालेको धेरै दिन भएको छैन, त्यसैले उनले कस्तो काम गर्‍यो भनेर मूल्यांकन गर्ने समय पनि भएको छैन । उनको अहिले नै धेरै आलोचना पनि ठीक हुन्न । तर उनले यस्ता केही काम गर्न थालेका छन्, जसले नतिजा खराब नै हुन्छ । रेलिगेसनबिनाको लिग यस्तै हो ।


शेर्पा मजबुत र शक्तिशाली अध्यक्ष हुन् । नेताले सबैलाई खुसी पार्ने निर्णय गर्नु हुन्न । सायद उनी गलत सल्लाह दिने, कूतर्क प्रस्तुत गर्ने समूहको घेरामा छन् । उनीसामु दुई बाटो छ, पहिलो त्यही समूहको घेरामा बस्ने र भ्रममा रहने । दोस्रो, त्यो समूह र त्यस्तो सोच परित्याग गरेर अगाडि बढ्ने । शेर्पाले दोस्रो बाटो रोज्नैपर्छ । आउने दिनमा नेपाली फुटबल असफल भएमा दोष त्यो समूहलाई जानेछैन, बरु यिनै शेर्पा आलोचित हुनेछन् । नेपाली फुटबललाई ‘लटरपटर’ कामको कुनै आवश्यकता छैन ।

खेलकुद

१८ औं एसियाली खेलकुद: स्क्वास थपियो

- कान्तिपुर संवाददाता
एजिलिटीद्वारा एसियाड टोलीलाई प्रायोजित खेलसामग्री प्रदर्शन गरिँदै ।

काठमाडौं– आसन्न १८ औं एसियाली खेलकुदमा नेपालले भाग लिने खेलसंख्या थपिएको छ । भदौ २ देखि इन्डोनेसियामा हुने एसियाडमा नेपालले अब २९ खेलमा भाग लिनेछ । थपिएको खेल स्क्वास हो । स्क्वासका चार पुरुष खेलाडी थपिँदा कुल १ सय ८५ खेलाडीले एसियाडमा भाग लिने शुक्रबार नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।


यसअघि २८ खेलमा १ सय ८१ खेलाडी पठाउने तय भएको थियो ।


एसियाडमा नेपालले पहिलोपल्ट यति धेरै खेलमा सहभागिता जनाउन लागेको हो । पछिल्लो दुई एसियाड (ग्वान्झाउ र बुसान) मा समान २० खेलमा भाग लिएको थियो ।


जकार्ता र पालेमबाङ यसपालि स्क्वास, भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराँते, ब्याडमिन्टन, पाराग्लाइडिङ, कबड्डी, साइक्लिङ, सेपाकताक्रो, स्पोर्टस क्लाइम्बिङ, पेन्केक सिलात, भलिबल, ट्रायथलन, कुस्ती, फेन्सिङ, फुटबल, गल्फ, जुडो, लनटेनिस, पौडी, तेक्वान्दो, उसु, कुराँस, बास्केटबल र स्केटबोर्डिङमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।


नेपालले पाराग्लाइडिङ, पेन्केक सिलात, स्पोर्टस क्लाइम्बिङ, कुराँस, स्केटबोर्डिङमा पहिलोपल्ट एसियाड खेल्दैछ । यी पनि इन्डोनेसिया एसियाडमा समावेश १० नयाँ खेलमध्ये पर्दछ ।


स्क्वासमा अमृत थापामगर, अरहन्तकेशर सिंह, ज्ञानु चौधरी र राजेन्द्र शाक्यले प्रतिस्पर्धा गर्नेछन् ।


सदस्य–सचिव ‘सेभ द मिसन’
खेलाडी, प्रशिक्षक, पदाधिकारी र अफिसियल गरी झन्डै ३ सय नेपाली एसियाड टोलीको नेतृत्व गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट जाकार्ता जाने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विष्टलाई नेपाली टोलीको ‘सेभ द मिसन’ तोकिएको जानकारी गराए । डेपुटी सेभ द मिसनको कार्यभार भने नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष धिरेन्द्र प्रधानले पाउने भएका छन् ।


भलिबल कोरियाको समूहमा
एसियाडमा नेपाली पुरुष भलिबल टोलीले ३२ वर्षपछि भाग लिन लागेको हो । यसअघि नेपालले सन् १९८६ मा सोल एसियाड खेलेको थियो । यसपालि प्रारम्भिक चरणको ‘ड्र’ अनुसार नेपालको समूहमा दक्षिण कोरिया र चाइनिज ताइपेई परेको छ । २० राष्ट्रको सहभागिता रहने भलिबलमा नेपालले समूह ‘डी’ मा परेको हो । नेपालले अगस्ट २२ मा ताइपेई र २४ मा कोरियासँग प्रतिस्पर्धा गर्नेछ । एसियाड तयारीलाई भलिबल टोली यतिखेर कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षणरत छ ।


टोलीलाई एजिलिटीको पोसाक
नेपाली एसियाड टोलीका लागि चिनियाँ कम्पनी एजिलिटी हेल्थ एन्ड वेलनेस कर्पोरेसनले प्रायोजन गरेको खेलसामग्री शुक्रबार नेपाल ओलम्पिक कमिटीलाई हस्तान्तरण गरेको छ । गत अप्रिल १८ मा एनओसी–कर्पोरेसनबीच भएको सम्झौताअनुसार सम्पूर्ण खेलाडी तथा पदाधिकारीका लागि अफिसियल स्पोर्टस किट उपलब्ध गराइएको हो । कर्पोरेसनका अध्यक्ष अफ्रेड चानले एनओसी अध्यक्षलाई उक्त सामग्री हस्तान्तरण गरे.। सामग्रीमा स्पोर्टस ब्याग, एकजोर ट्रयाकसुट, टीसर्ट, स्पोर्टस सुज, मोजा, क्याप रहेका छन् ।
एजिलिटीसँगको सम्झौताले नेपाली खेलाडी र खेलकर्मीलाई हर्षित तुल्याएको बताउँदै एनओसी अध्यक्ष श्रेष्ठले भने, ‘हामीले यो कार्य सुरुआतका रूपमा लिएका छौं । यसलाई निरन्तर दिन इच्छुक छौं । त्यसका लागि पहल गर्नेछौं ।’


कर्पोरेसनका अध्यक्ष चानले एसियाडका सहभागी नेपाली खेलाडीको सफलताको शुभकामना दिँदै यो महान् कार्यमा आफ्नो कम्पनी जोडिन पाएकोमा गौरव महसुस भइरहेको बताए । सम्झौताअनुसार झन्डै ८० लाखबराबरको ४ सय सेट सामग्री उपलब्ध गराइएको एनओसीले जनाएको छ ।


उसु प्रशिक्षणलाई चीनतिर
उसु टोली वैदेशिक प्रशिक्षणका लागि शुक्रबार चीन गएको छ । ९ खेलाडी र २ प्रशिक्षकसहित ११ सदस्यीय टोली चीनको ग्वान्सी गएको हो । करिब २० दिनको प्रशिक्षणपछि टोली साउन ३० मा चीनबाट इन्डोनेसिया जानेछ ।


एसियाडमा उसुको प्रतिस्पर्धा भदौ ३–७ सम्म जकार्तामा हुनेछ । सन् १९९० मा ११ औं बेइजिङ एसियाडदेखि नेपालले उसुमा भाग लिएको हो । त्यो हालसम्म निरन्तरता पाएको छ ।
पुरुषतर्फ चित्रसिंह ठकुरी, मंगलप्रसाद थारु, पदमबहादुर ठकुल्ला, विजय सिन्जाली, युवराज थापाले प्रतिस्पर्धा गर्नेछन् । वीरमान लामा भने हाल टोलीमा छैनन् । उनी ढाडको नसा च्यापिएका कारण शल्यक्रिया गरी उपचाररत छन् । आइतबारसम्म डिस्चार्ज हुने बताइएको छ । वीरमान पनि छनोट खेलाडी हुन् ।


महिलामा १२ औं सागकी स्वर्णधारी निमा घर्तीमगर, जुनी राई, लुमन्ति श्रेष्ठ र सुस्मिता तामाङले प्रतिस्पर्धा गर्नेछन् । चीन गएका प्रशिक्षकमा शैलेन्द्र श्रेष्ठ र फत्तबहादुर लामा योञ्जन छन् ।

Page 17
कोसेली

वीरेन्द्र बियर खोज्दै...

परिचर्चा
‘खासमा म पुन: तपाईंलाई विश्वास दिलाउन चाहन्छु, वीरेन्द्र बियर उत्पादन गर्नुको अर्थ कसैको मानमर्दन गर्नु होइन । सिजनल उत्पादनमार्फत ग्राहकलाई खुसी दिने मेरो लक्ष्य हो ।’

राजा वीरेन्द्रका नाममा विज्ञापित एउटा बियर ब्रान्डले युरोपेली मुलुकदेखि नेपालका कुनाकानीसम्म समाचार फैलाउने काम गर्‍यो । चर्चा–परिचर्चाको उत्कर्षमा कति सोखिनहरू वीरेन्द्र बियर खोज्दै ठमेल र दरबारमार्गतिर पनि टहलिएका भेटिए । एक जना नियात्राकार भने वीेरेन्द्र बियर खोज्दै स्विजरल्यान्डको जुरिच पुगेका रहेछन्, यो बियर उत्पादक मालिक आद्रियान वेबरलाई भेट्ने गरी ।

 

यसअघि पनि मैले अनेक मदिरासँग संवाद गरेको थिएँ । यस पटक भने ‘वीरेन्द्र बियर’ सँग संवाद गर्दै छु । संसारमा मदिराका विषयमा धेरै गीत रचिएका छन्, धेरै काव्य लेखिएका छन् । हरिवंश राय बच्चनको प्रसिद्ध काव्य मधुशाला त पिएर कहिल्यै नरित्तिने अक्षरहरूको मधुशाला नै बनेको छ । सायद नारीपछि सबैभन्दा धेरै लेखिएको विषय नै मदिरा हो ।


मेरो हातमा बियरको विज्ञापन भएको एउटा पर्चा थियो । बियरको नाम हो— वीरेन्द्र बियर । जहाँ हातमा बियरको ग्लास लिएर राजा वीरेन्द्र थोरै मुस्कुराउँदै छन् । यो बियर एक जना स्विस उद्यमी आद्रियान वेबरले उत्पादन गरेको मौसमी बियर रहेछ । यो त्यही बियर हो, जसको केही महिनाअघि सामाजिक सञ्जालमा पक्ष–विपक्षमा खुब चर्चा भएको थियो ।
पर्चाको माथिल्लो भागमा जर्मन भाषामा लेखिएको छ, ‘तपाईंसमक्ष आएको छ सक्कली रेसिपी ।’ त्यसपछि नेपालीहरूले सम्मान गरेका राजाको अनुहारलाई कुनै कलाकारले मुस्कुराएको महसुस गराउन केही कारिगरी थपिदिएका रहेछन् । पर्चाको तल लेखिएको छ, ‘साथमा नेपाली टिमुरको स्वाद ।’ नेपालीको इज्जत बढ्ने गरी लेखिएझैँ लाग्यो । अर्को वाक्य पढें, ‘दिस बियर इज किंग ।’


वेबरसँग मेरे परिचय थिएन तर एक नेपाली भएका नाताले आफ्नो देशका स्वर्गवासी राजाको नाममा बियर उत्पादन गर्ने व्यक्तिलाई भेटौं र यो बियर उत्पादन गर्नुपर्ने कारण सोधौं–सोधौं लाग्यो । सामाजिक सञ्जालमा नेपालीमाझ अत्यधिक चर्चा भएको र यसको उत्पादन नै बन्द गर्नुपर्ने आवाज उठिरहेको सुनेपछि मेरो मनमा यस्तो विचार आएको थियो । सामान्यतया विकसित मुलुकमा कुनै व्यक्तिले पुँजी र बुद्धि लगाएर सुरु गरेको व्यवसायलाई कसैले पनि बन्द गर भन्ने हिम्मत गर्दैन । उत्पादन सुरु भइसकेपछि त्यसविरुद्ध त्यो बेलासम्म प्रश्न उठाउन मिल्दैन, जबसम्म त्यसले आफ्नो गुणस्तर कायम राख्छ । हामीबीच चलेको बहस उत्पादनकर्ताको कानसम्म पुगेको छ कि छैन, त्यो जान्न पनि मलाई यो बियर र यसका उत्पादनकर्तासँग भेट्ने हुटहुटी जागिरह्यो ।
***


केही दिनअघि मात्रै जुरिच सहर पुग्दा मैले सामाजिक सञ्जालमा टाँसिएको वीरेन्द्र बियरको खोजी सुरु गरेको थिएँ । साँझ परेपछि डाउनटाउन जुरिचमा रहेका बारहरू सधैँ भरिभराउ हुने गर्छन् । बारटेन्डरलाई कुरा गर्नेसम्म फुर्सद हुँदैन । ठीक यसैबेला म एउटा बारमा छिरें ।
‘बियर छ ?’
‘धेरैथरी छन्, कुन दिऊँ ?’
‘वीरेन्द्र, वीरेन्द्र बियर ।’
‘त्यस्तो कुनै बियर छ र ?’ बारटेन्डरले फनक्क फर्केर सर्भ गरिरहेकी अर्की युवतीलाई सोधे । युवतीबाट ‘नो’ भन्ने जवाफ सुनेपछि बारटेन्डर मतिर फर्किए र भने, ‘नो म्यान, जहाँसम्म मलाई लाग्छ, तपाईंलाई कन्फ्युजन भएजस्तो छ ।’
म कसरी द्विविधामा हुन सक्छु र ? सामाजिक सञ्चालमा तर्क–वितर्क गर्दा केही साथीहरूले वीरेन्द्र बियर पिइरहेको तस्बिरसमेत राखेका थिए । तर, त्यो व्यस्त समयमा उनीहरूसँग तर्क गर्नुको कुनै अर्थ थिएन ।
इन्टरनेटबाट वीरेन्द्र बियरको टयाग झुन्डिएको फोटो खोजेँ र म अर्को बारतिर लागेँ अनि त्यही प्रश्न अर्को बारटेन्डरलाई पनि सोधेँ ।
‘सरी, ढिला आउनुभयो, स्टक सिद्धियो ।’
यस पटक भने केही आशा पलायो र बारमेनलाई भनें, ‘धन्यवाद, यसको अर्थ अरू केही बारमा प्रयास गरे त्यो बियर सायद म भेट्न सक्छु ।’

 

‘भेट्न सक्नुहुन्छ तर ग्यारेन्टी गर्न सक्तिनँ । महाशय, त्योभन्दा राम्रा बियरहरू भित्तामा सजिएको देखिरहनुभएको छ । किन दु:ख गर्नुहुन्छ ?’
मैले मुस्कानबाटै केही भन्न खोजेँ । म मुस्कुराएको देखेर ऊ पनि मुस्कुरायो । सायद, म ‘वीरेन्द्र बियर’ फेला नपारी अरू बियर पिउँदिनँ भन्ने कुरा उसले मुस्कानबाटै महसुस गरेको हुनुपर्छ ।


त्यसपछि लगातार मैले डाउनटाउन जुरिचका अरू केही बारहरू चहारेँ । केहीलाई ‘वीरेन्द्र बियर’ बारे जानकारी थिएन, केहीले भने यो वर्षको सिजनल बियरमध्ये ‘वीरेन्द्र बियर’ निकै उत्कृष्ट भएको बताए ।


बियरका पारखीहरूमाझ यो बियर लोकप्रिय हुँदै थियो तर अहिले सप्लाई हुन छाडेको छ भन्ने कुरा एक बारम्यानले गरे । त्यसपछि त यस बियरका बारेमा जान्ने जिज्ञासा अझ बढी तीव्र भयो ।


त्यो साँझ त्यस्तै भयो । म होटल पुगेँ र स्विजरल्याज्डमा रहेका नेपाली मित्रसँग वीरेन्द्र बियरका सम्बन्धमा सोधपुछ गरेँ । खोजिपस्दा के–के त पाइन्छ, यही सहरमा उत्पादन भएको बियरबारे थाहा नपाउने कुरा के छ र ?


आखिरमा भोलिपल्ट वीरेन्द्र बियरको बोतल मात्र होइन, त्यो बियर फल्ने बोट नै पत्ता लाग्यो । त्यो बियर उत्पादन गर्ने ‘टर्बिनेन ब्य्रु कम्पनी’ का प्रबन्ध सञ्चालक ‘आद्रियान वेबर’ जुरिचमा बसोबास गर्ने मित्र फडिन्द्र पन्तको सम्पर्कमा रहेछन् । उनले नै फोनमा वेबरसँग कुरा गरेँ । वेबरले फोनमा सौहाद्रतापूर्ण कुरा गरेर हामीलाई आफूकहाँ आउन आमन्त्रण गरे ।
‘आज शनिबार भएकाले म चार बजेसम्म मात्रै फ्याक्ट्रीमा हुन्छु । त्यो बीचमा तपाईं मेरो फ्याक्ट्रीमा आउन सक्नुहुन्छ । र, तपाईंलाई बताइहालौं, बियरको उत्पादन अहिले बन्द भएको छ । बजारमा स्टक पनि सकिएको छ । केही कार्टुन बियर बाँकी छन् । सायद तपाईं आउनुहुन्छ भनेर होला, पर्खेर बसेका छन् ।’


हतारहतार काम सकेर हामी ‘बादेनरस्ट्रास्से–५७१’ स्थित उनको ब्रुअरी फ्याक्ट्रीमा पुग्यौं । फ्याक्ट्री पुग्दा पो थाहा भयो, चार मात्रै होइन, घडीले सबा चार बजाइसकेको रहेछ । उनी ४ बजेसम्म म आउँछु भनेर कुरेर बसेका रहेछन् । ४ बजे पनि नपुगेपछि अफिस बन्द गरेर उनी निस्कँदै रहेछन् ।


छोरा अनुकृतले भने, ‘हामी फ्य्रांकफर्टदेखि तपाईंलाई भेट्न आएका हौं । आजै साँझ हामी फ्य्रांकफर्ट फर्कंदै छौं । अहिले थोरै समय दिनुभयो भने हामी अनुगृहीत हुनेथियौं ।’
उनलाई मेरो छोराको कुराले छोएछ क्यारे, केही गम्भीर देखिए र विनम्रतापूर्वक भने, ‘मसँग कुरा गर्न अहिले साँच्चै नै समय छैन । बरु तपाईंका लागि बियर भने उपलब्ध छ । लैजान सक्नुहुन्छ, आवश्यक भए अनुकूल समयमा फोनमा नै कुरा गरौँला ।’


त्यसपछि उनले बन्द भइसकेको फ्याक्ट्रीको ढोका खोले र त्यहाँबाट एक कार्टुन बियर निकालेर हामीलाई दिंदै भने, ‘यो बियर तपाईंलाई उपहार दिन पाएकोमा खुसी छु । पिउनुहोला र कुरा गर्न मन लागेको खण्डमा बिनासंकोच फोन गर्नुहोला ।’


हामीले बियरको पैसा दिन खोज्यौं तर उनले लिन मानेनन् । उनको व्यवहारले मलाई हाम्रो गाउँघरको सम्झना गरायो । गाउँघरतिर अझै पनि बटुवालाई कुनै घरबाट मन तृप्त हुन्जेल मोही खान दिएर पनि त्यसको मूल्य खोजिँदैन । विदेशी भूमिमा कुनै चिनजान नभएको र भविष्यमा हामीबाट कुनै फाइदा हुने लक्षणसम्म नदेखेका व्यक्तिले यस्तो व्यवहार गर्नु मेरा लागि अर्को सुखद आश्चर्य थियो ।


हामी धन्यवाद भन्दै फर्कियौं । फ्य्रांकफर्ट फर्केपछि फुर्सद हुनेबित्तिकै मैले कार्टुन खोलेर एकएक बियरका बोतल हेरेँ । सानो बोतल, तीन सय तीस मिलिलिटर बियरको † सबै बोतलमा राजा वीरेन्द्र हातमा बियरको गिलास लिएर मलाई चियर्स गर्न उक्साइरहेझैँ लाग्यो ।


त्यसको तीन दिनपछि, मैले उनलाई फोन गरेर सोधेँ, ‘के तपाईंसँग केही बेर कुरा गर्न सक्छु ? खासमा तपाईंसँग कुरा नगरी मलाई बियरको बोतल खोल्न पनि अप्ठेरो लाग्यो ।’
‘अहो, यत्तिका दिन भइसक्यो, खोल्नुभएको छैन ?’
‘छैन ।’


मैले सोधें, ‘वीरेन्द्र बियर’ का विषयमा मेरो मात्र होइन, धेरै नेपालीको चासो छ । यसबारे केही कुरा गर्न चाहन्छु ।’ राजा वीरेन्द्रको नाममा बियर उत्पादन गर्नुको उद्देश्य के थियो होला ?
‘प्रत्येक वर्ष म केही नयाँ सिजनल बियर उत्पादन गर्छु । यो हाम्रो उद्योगको एउटा नीति हो । यसरी खास समयका लागि उत्पादन भएका बियरलाई छुट्टै नाम दिने चलन छ । ती नामहरूले जनमानसमा सधैँ सकारात्मक सन्देश दिने हुनुपर्छ भन्ने मेरो मान्यता हो । स्प्रिङ्ग र समरमा मूलत: जुरिच सहरमा खपत हुने गरी यस्ता सिजनल बियर उत्पादन गरिन्छ ।’
मैले सोधें, ‘यसअघि पनि नेपालको नाममा कुनै बियर उत्पादन गर्नुभएको थियो कि ?’


‘थिएन, खासमा मलाई नेपालबारे धेरै जानकारी नै थिएन । तर, हरेक वर्ष केही नयाँ उत्पादन गर्दा म हाम्रा ग्राहकले नयाँ अनुभव गरून् भन्ने चाहन्छु । त्यसका लागि नयाँ कुराको खोजी गर्छु । संयोगले यस पटक मेरो ध्यानमा नेपाल पर्‍यो ।’
सोधें, ‘वीरेन्द्र नाम नै किन रोज्नुभयो ?’


उनले प्रस्ट्याए, ‘म नेपाललाई केन्द्रमा राखेर बियर उत्पादन गर्न चाहन्थेँ । किनभने यो मेरा लागि नयाँ कुरा थियो । नेपालबारे जानकारी नभएका कारण मैले इन्टरनेटमा सर्च गर्न थालें । एभरेस्ट, हिमालय, गोर्खाजस्ता प्रचलित नामहरू पहिले नै अकुपाइड भइसकेका रहेछन । सर्च गर्दा पत्ता लाग्यो नेपालका पूर्वराजा वीरेन्द्र शाहलाई त्यहाँ श्रद्धापूर्वक सम्झने गरिन्छ । तर, विश्वास गर्नुहोस्, उनको नाम लोकप्रिय भएका कारण त्यसलाई मैले क्यास गर्न खोजेको भने होइन । हामी यस्ता सिजनल बियर थोरै उत्पादन गर्छौं । यसका लागि लोकप्रियता आवश्यक पर्दैन । केवल नयाँपन दिने प्रयास मात्रै गरे हुन्छ ।’


‘त्यसो भए किन वीरेन्द्र नाम नै रोज्नुभयो । इन्टरनेटमा नेपालबारे अरू धेरै कुरा पाइन्छ नि ?’ म जिज्ञासु बनें ।


उनले स्पस्ट पारे, ‘वीरेन्द्र उच्चारण गर्दा मैले बि’येरेन्द्र अर्थात् बियरको नजिक नजिक उच्चारण भएझैँ पनि महसुस गरें । खासमा वीरेन्द्रका तस्बिरहरू जति पनि इन्टरनेटमा थिए, ती अनुहार एकदमै गम्भीर देखिन्थे । यसले बियर पारखीलाई अपिल गर्दैनन् कि भन्ने लाग्यो । तर, नाम भने साँच्चै नै बियर पारखीले मन पराउने थियो । यही कारण बाध्यतापूर्वक मेरा ग्राफिक डिजाइनरको सहायताले उनलाई अलिकति हँसमुख देखाउने प्रयास गरियो ।’


‘बियरमा टिमुरको स्वादको कुरा लेखिएको रहेछ । नेपाल नै नबुझेको मानिसले टिमुरबारे कसरी थाहा पाउनुभयो ?’ म थप उत्सुक भएँ ।


‘नेपालबारे उति धेरै जानकारी थिएन । तर, हिमाली क्षेत्रको बारेमा मलाई केही जानकारी छ । खासमा नेपाल खोज्ने क्रममा वीरेन्द्र नाम जुराएको हो । म नेपाल र हिमालय क्षेत्रसँग सम्बन्धित केही इन्ग्रेडियन्ट मिसाएर यसको आफ्नो छुट्टै स्वाद निकाल्न चाहन्थेँ । विशेषगरी टिमुर मसलाको स्वाद मलाई पहिला नै थाहा थियो । तिब्बत र तपाईंहरूतिर पाइने टिमुर मिसाउँदा यसले युनिक टेस्ट दिन्छ भन्ने मलाई लागिरहेको थियो । यो सिजनका लागि यो टेस्ट र नाम बेजोड हुने अनुमान गरेर यस वर्षको सिजनमा ‘वीरेन्द्र बियर’ लन्च गरेका हौं,’ उनले बताए ।


‘एक सिजनमा कति लिटर उत्पादन गर्नुहुन्छ ? यसको कुनै नियम छ ?’ भन्ने मेरो प्रश्नमा उनले भने, ‘हामी सिजनल बियर थोरै तर विशेष स्वादमा निकाल्छौं । यो पटक पच्चीस–तीस हजार लिटरसम्म उत्पादन गर्ने लक्ष्य थियो । तर...’
‘तर... केही भन्न लाग्नुभएको हो ?’
उनी थप्दै गए, ‘कुरा के भने बियर बजारमा आइसकेपछि यसको राम्रै रिस्पोन्स आउँदै थियो । टार्गेट गरेको जति उत्पादन गर्ने योजना बन्दै थियो । तर, नेपाली समुदायबीच सामाजिक सञ्जालमा यसले तरंग उत्पन्न गरिसकेको रहेछ । यसको विरोधमा अनलाइन पेटिसन पनि सुरु भएको भन्ने सुनेँ । यस्तैमा काठमाडौँको स्विस दूतावासबाट सन्देश आयो, वेब साइटबाट ‘वीरेन्द्र बियर’ सम्बन्धी सूचना हटाइदिने अनुरोधसहित । हामीले सो अनुरोध मानेर सबै सूचना हटाई पनि दियौं ।’
‘के उत्पादन बन्द गर्नुपर्ने दबाब आएको थियो ? मैले त त्यस्तै सुनेको थिएँ नि ।’


‘उत्पादन बन्द गर्नुपर्‍यो भनेर त्यस्तो कुनै दबाब आएको भन्ने कुरा साँचो होइन । उत्पादन भइसकेका केही बोतलहरू खपत भइसकेपछि यो च्याप्टर पनि बन्द भइहाल्छ । यही कारण केही विरोध भए पनि यसमा गम्भीर हुनुपर्ने आवश्यकता महसुस गरिनँ । बरु अर्डर आउँदाआउँदै पनि म आफैंले थप उत्पादनमा रुचि देखाइनँ ।ँ
“‘वीरेन्द्र बियर’ उत्पादन गरेकोमा कुनै खेद छ ?”


‘छैन, मैले गलत उद्देश्यले यो काम गरेको होइन । कसैको आत्मसम्मानमा चोट पुर्‍याउने मेरो नियत छँदै थिएन । दूतावासले हाम्रो वेबसाइटमा भएका बियरसम्बन्धी सूचनाबाट वीरेन्द्र बियरको सूचना हटाउन अनुरोध गरेपछि भने केही विरोध भएको रहेछ भन्ने अनुमान गरेको थिएँ । तर, ठूलै विरोध पो भएको रहेछ । मेरो विचारमा यति सारो विरोध हुनुपर्ने म कुनै कारण देख्दिनँ ।’


उनले यसो भनिरहँदा मैले पनि रुसमा धेरै नेता र चर्चित केही व्यक्तिका थरमा भोड्काहरू उत्पादन भएको र तीमध्ये केही त निकै लोकप्रियसमेत भएको कुरा सम्झिएँ । ती भोड्काहरूमा आफ्ना नेता वा चर्चित व्यक्तिहरूको नाम किन राखियो भनेर आवाज उठाएको मैले सुनेको थिइनँ । यसकारण मैले उनको कुरामा केही सहमति जनाउँदै भनें, ‘मलाई पनि तपाईंको काम विरोध जनाउनुपर्ने खालको हो भन्ने लागेको छैन । तपाईंको विचारसँग म पनि सहमति जनाउँछु ।’ यसो भनेर म उनीसँग अझै कुरा गर्ने मुडमा थिएँ ।
‘जब मैले पहिलोपल्ट तपाईंको बियरका विषयमा सुनेँ, मलाई हाम्रा पूर्वराजाको लोकप्रियतालाई भजाउन खोज्नुभएको जस्तो लागेको थियो । तर, अहिले कुरा गर्दा त्यसो होजस्तो लागेको छैन ।ँ


उनी भन्दै गए, ‘मैले त्यस्तो गर्न खोजेकै होइन । खासमा उनी लोकप्रिय छन् भन्ने कुरा सुरुमा त थाहै थिएन । बियर र वीरेन्द्रको जुन रिदम मिल्यो, यही कारण त्यो नाम राख्न प्रेरित भएँ भन्ने कुरा तपाईंलाई मैले बताइसकेँ । तर, यो कुराचाहिँ सत्य हो, यो सिजनमा म नेपाल र हिमालका केही कुरा लाउन्च गर्न चाहन्थेँ, जसले आम मानिसमा सकारात्मक सन्देश जाओस् ।’


उनीबाट यी सबै कुरा सुनेपछि मलाई लाग्यो, ब्रान्ड डिजाइन गर्दा राजा वीरेन्द्रले हातमा बियर लिएको नदेखाइदिएको भए यसको यतिबिघ्न विरोध हुँदैनथ्यो कि ? यहाँनेर भने उनी चुके कि भन्ने लाग्यो । तर, मैले उनीसँग यो कुरा गरिनँ । कारण ‘वीरेन्द्र बियर’ को उत्पादन उनको फ्याक्ट्रीले बन्द गरिसकेको थियो ।


बरु सोचेँ, यो बियर उत्पादन गरेर उनले नेपाली टिमुरको प्रचार भने गरेका थिए । बियर पिउने मध्ये केहीले बियरमा भएको टिमुरको स्वादबाट स्टिकरमा लेखेजस्तो नेपाली रेसिपीको अनुभव गर्न उत्प्रेरित भए कि । आखिर यसो भएको खण्डमा यसले कुनै न कुनै रूपमा नेपाललाई फाइदा नै गर्ने निश्चित थियो ।


उसो त विश्वभरि नै यो चलन नभएको कहाँ हो र ? रुसमै गोर्बाचोब, पुतिन्का, झिरिनोव्स्की, रास्पुतिन नाम गरेका अल्कोहोलिक पेयपदार्थ प्याटेन्ट दर्ता गराएरै उत्पादन हुने गर्छन् । यस्ता कुनै थरलाई प्याटेन्ट गर्दा मेरो थरसँग मिल्यो भनेर विरोध गर्न पनि सायद नमिल्ने होला । त्यसरी चलाइएका कुनै कुनै ब्रान्डहरू त व्यावसायिक रूपमा निकै सफल भएका छन् । अरू देशहरूमा पनि यसैगरी उत्पादन तथा बिक्री वितरण हुने गरेको देखेको छु । राष्ट्रिय नेताहरूको नाम, थर, बदनामी गरियो भनेर विरोध हुने गरेको अन्त कतै सुनिएको पनि छैन ।
मैले कुराकानीकै क्रममा वीरेन्द्र बियरको बोतल खोलेँ र गिलासमा खन्याउँदै भनें, ‘तपाईंसँग कुरा गरेपछि अब मलाई यो बियर पिउन सजिलो भयो । आखिर तपाईंले दिएको उपहार तपाईंसँग अनुमति नलिई खोल्न मन लागेन ।’


मेरो कुरा सुनेर उनी हाँसे र भने, ‘तपाईंसँग कुरा गरेर रमाइलो लाग्यो । खासमा म पुन: तपाईंलाई विश्वास दिलाउन चाहन्छु, वीरेन्द्र बियर उत्पादन गर्नुको अर्थ कसैको मानमर्दन गर्नु होइन । सिजनल उत्पादनमार्फत ग्राहकलाई खुसी दिने मेरो लक्ष्य हो । यस्तोमा म गलत कुरा कसरी सोच्न सक्छु र ?’


कुराकानीको बिट मार्दै वेबरलाई मैले सोधेँ, ‘अर्को वर्ष नेपालसँग सम्बन्धित कहीं कतै विवाद नहुने कुनै नाम हामीले सुझायौं भने त्यो नामबाट तपाईंको ब्रुअरीले बियर उत्पादन गर्ला ?’
‘अहिले त्यस विषयमा केही सोचेको छैन– बट वी विल सी ।’


वेबरसँग कुराकानी सकिएपछि बोतलबाट बियर ग्लासमा खन्याएँ । चिसो बियर स्पर्श गर्दा लाग्यो, वीरेन्द्र पनि कुल राजा थिए, नेपालीको मनमनमा बास बसेका थिए । त्यसपछि चिल्ड गरिएको ‘वीरेन्द्र बियर’ को चुस्की लिन थालें । नजानिँदो गरी टिमुरको स्वाद आयो । यसरी पनि नयाँ स्वाद दिन सकिँदो रहेछ । बियरको अर्को घुट्को लिंदै यो बियरलाई बजारमा ल्याउने उद्यमी ‘आद्रियान वेबर’ लाई धन्यवाद दिएँ ।


चुस्कीसँगसँगै वीरेन्द्रको वंशनाश भएको बीभत्स घटनाको याद अझ तीव्र हुँदै आयो र धेरै पर पुगिसकेको त्यो त्रासदीपूर्ण घटना आँखैअगाडि आइरह्यो ।
[email protected]

Page 18
कोसेली

जहिले तिमी आऊ...

कुराकानी
- कान्तिपुर संवाददाता

सुश्री शान्ति ठटाल नेपाली सुगम गीत–संगीत विधाकी अग्रज साधक हुन् । भारतको दार्जिलिङमा जन्मे–हुर्केकी ठटाल नेपाल–भारत मात्रै होइन, संसारभरकै नेपालीभाषीका लागि प्रियवर संगीतकार/गायिकाका रूपमा चिनिएकी छन् । छिन्नलता गीत पुरस्कार गुठीले यो वर्ष दिएको छिन्नलता विशेष सम्मान थाप्न आएकी ८० वर्षीया संगीतकर्मी ठटालले एक साता लामो काठमाडौं बसाइमा विभिन्न स्टुडियो धाउँदै गीत रेकर्ड गराउने र इच्छुक–शुभेच्छुकलाई गीत सिकाउने काम गरेकी थिइन् । बुढेसकालले छोइसकेको उमेरमा बिहान अबेरसम्म सुत्नु, लौरोको सहारामा मुस्किलले हिंड्नु र खोलेजस्तो खान्की ब्रेकफास्टमा खानु शान्ति दिदीको दैनिकीझैं बनेको छ । बुधबार दिउँसो ‘गार्डेन अफ ड्रिम्स’ मा स्पागेटी र फलफूल सेवन गरेपछि दिदी आरामीका लागि रातोपुलस्थित एक आफन्त चेलीका डेरामा पुगिन् । र, हारमुनियम झिक्दै गीतकार पवन चाम्लिङको एउटा पछिल्लो गीतको धुन सुनाइन्, संसारभरका नेपालीलाई मिल्ने काइदाको— ‘नेपालीलाई के भयो के भयो, हराएर आफैंलाई खोजिरह्यो, जहाँजहाँ गयो, त्यहींत्यहींकै भयो...’

दिदी, बुढ्यौली लागेको भान भएको छैन ?
हिंड्ने, बस्ने, खाने कुरामा उमेरअनुसार थाकेको पक्कै हो । तर, सृजनकर्ममा (त्यो क्या) गानाबजानामा बूढी भएको मान्दिनँ । अहिले पनि नयाँ कम्पोज गरिरहेकै छु, चेलाचेलीलाई सिकाइरहेकै छु ।

 

तपाईं हरेक वर्षजसो मानसम्मान थाप्न नेपाल आइरहनुभएकै छ । दशगजा नाघेर हरेक पटक यता आउँदा कस्तो महसुस हुन्छ ?
हो, नेपाल राष्ट्र अर्कै राष्ट्र हो— हाम्रोनिम्ति । हामी त भारतमा छौं, भारतीय हौं । हामीलाई जसले मन पराउँदैन, हामीलाई बाहिरको भन्छन् । हामी सही बस्छौं । उता हामीलाई मान्नेहरू पनि थुप्रै छन् । यसरी निम्तो पाएर नेपाल आएपिच्छे आनन्द लाग्छ, औधी खुसी हुन्छु । नेपालले हामीलाई बिर्सिंदैन, पटक्कै भुल्दैन भन्ने लाग्छ । हामीले कुनै दिन अलिकति योगदान दिएका थियौं होला, तैपनि नेपालले मूल्यांकन गरेर बोलाइरहन्छ । यो सम्झेर म नेपालप्रति आभार व्यक्त गर्छु, सधैं आभारी छु ।

 

थोरै भूगोलको कुरा गरौं । तपाईं भारतमा हुनुहुन्छ, भारतीय हुनुहुन्छ । तर, तपाईंलाई सक्दो नाम–काम र सम्मान नेपाल–नेपालीले दिएको छ । उता रहेर हिन्दी वा बंगाली गीतसंगीत क्षेत्रमै लागेको भए अझ बढी उचाइमा पुगिने थियोजस्तो लाग्दैन ?
पहिले–पहिले यस्तो सोच्थें (क्या) । अहिले भने यस्तो सोच्न छाडें । मैले कलकत्ताका रवीन्द्र भारतीबाट ३ वर्षे शास्त्रीय संगीतको तालिम गरेपछि भने यस्तो कुरा बढी सोच्ने गर्थें । त्यो तालिम सकेर म दार्जिलिङ नै फिरें, १९६१ तिर । फर्केर त्यहाँको लोकमनोरञ्जन शाखामा जागिरे बनें । म ठूलो खोलाबाट सानो खहरेमा फर्किएजस्तै बनेकी थिएँ । बरु कलकत्तै बसेर गीतसंगीत अभ्यास र अरू तालिम गरेको भए हुने थियो भन्ने लाग्थ्यो । तर, जे भयो अच्छै भयो भन्ने लाग्छ अहिले क्या ।

 

यो राजनीतिको कुरा त होइन । तर, दार्जिलिङ क्षेत्र त तपाईंले थाहा पाएदेखि अस्थिर र अशान्त छ नि, राजनीतिकै कारण ? तपाईं कलाकर्मी, संगीतकर्मीहरूलाई यस्तो कुराले छुँदैन ?
हत्तेरि छुन्छ नि । भाषा, साहित्य, कला, संस्कृति, संगीत, सभ्यता र सबैभन्दा ठूलो कुरा हाम्रो अस्तित्वको कुरा हामी बसेको भूगोलमै जोडिएको हुन्छ । राजनीतिले सबै जातजातिको भलो गरोस्, थिचोमिचो नहोस् भन्ने न हो । पछि गएर अम्बर गुरुङ, अगमसिंह गुरुङहरूले गीत–शब्दमार्फत ‘नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको’ भनेपछि पो हामी धेरै झस्केका थियौं त । झसंग हुने गरी त्यहाँ हाम्रो अस्तित्वको प्रश्न जोडिएर आएको थियो, पहिलो पटक । आज दार्जिलिङ रित्तो हुँदै छ । युवाहरू पलायन हुँदै छन् । कलासंस्कृतिको कुरो पहिलेजस्तो बेजोडको छैन । विशेषगरी राजनीतिक स्थिरता भइदिए राम्रो हुन्थ्यो कि भन्ने हो ।

अहिले सांगीतिक संगत, माहोल र गतिविधि के कस्तो छ दार्जिलिङमा ?
अहिले उता शून्य–शून्य छ । हाम्रो अघिल्लो पुस्ता निष्क्रिय भइसक्यो, नयाँ पुस्ताको आफ्नै तरिका छ । तर, पुरानो समयको माहोल र अपनत्वले भरिएको ‘क्रिएसन’ भने छैन । अहिले व्यापार बढी छ, टालटुल गरेर र थुप्रै ‘टेक’ लिएर पनि गीत रेकर्ड गर्न सकिने अवस्था छ । मेरा पालामा एक सासमा एउटा गीत गाउनुपथ्र्यो । भए हुन्छ, नभए हुन्न । बरु अहिले र पहिलेको तुलनै नगरौं क्या ।

 

एउटा आम–प्रश्न छ तपाईंबारे, तपाईंले किन बिहा गर्नुभएन ? बिहा नगरेको अथवा नभएको हो ?
यो एकदमै सामान्य प्रश्न हो, मेरा लागि । हरेक पटक यसमा उत्तर अलग–अलग हुन्छ क्या । ‘मगनी’ गर्नेहरू पनि आएकै हुन् । परिस्थिति होला, कतिपय कारण खोजी हेर्दा । बिहा म आफैंले पनि नसोचेको र नचाहेको कुरा थियो । जीवनयात्रामा त्यस्ता कतिपय भेटघाट भए पनि । तर आए, गए । म्युजिकमै नित्य लागिरहेकाले अरू सोचाइ आएन क्या । बिहा गरिनँ, नगरेकोमा आज मलाई सन्तुष्टि छ, भनी नसाध्ये सन्तुष्टि । आज म जहाँ छु, बिहा नगरेकै कारण आइपुगेकी हुँ भन्ने लाग्छ । बिहा गरेको भए अनेक झमेलामाझ म कहींकतै हराएकी हुन्थें होला । मान्छेहरूले भन्थे होलान्, ‘एउटी शान्ति ठटाल भन्ने गायिका थिई, उहिलेउहिले गीत गाइटोपल्थी... । म एकादेशमा हुन्थें होला ।’

 

आफूलाई गायिका भनेर चिनाउनुहुन्छ कि संगीतकार ?
‘सम्हालेर राख, सँगालेर राख’ (शब्द/संगीत अम्बर गुरुङ) बोलको गीत आधारमा मलाई गायिका भनेर चिन्नेहरू जति छन्, ‘उडीजाऊँ भने म पक्षी होइन’ (परालको आगो) गीतका आधारमा संगीतकार भनेर सम्झने पनि छँदै छन् । खासमा म कलकत्ता पढेर आएपछि मेरो स्वरमा अलिक गिरावट आएको थियो । त्यही भएर म कम्पोजिसनमा अलिक बढी लागें । त्यसो भनेर गाउन छाडेकै भने होइन । धेरै पछिसम्म काठमाडौंमा ‘पलेंटी’ मा गाउन आइरहें । तर, मलाई संगीतकर्मी भनिदिए पुग्छ ।

 

कलकत्ताबाट फिर्नेबित्तिकै संयोगले तपाईंको अम्बर गुरुङसँग सुरु भएको सांगीतिक–संगत निकै ‘उपलब्धिपूर्ण’ रह्यो । तपाईंसँग झन्डै ५० जति ‘रेकर्डेड’ अथवा रेकर्ड नभएका गीतहरू त गुरुङकै होलान् । तपाईं आफूलाई भने सबैभन्दा मन पर्ने, मन छुने गीत कुन होला ?
मलाई मात्रै होइन, अगमसिंह गुरुङ दाजुले पनि दोहोर्‍याउँदै फर्माइस गरिरहने एउटै गीत थियो । मलाई लाग्ने, हृदय नजिकै अनुभूत हुने गीत एउटै छ, अम्बर गुरुङज्यूको
शब्द–संगीतमा :
जहिले तिमी आऊ
बिरानीले सोध्छ
बिरानीमा फुल्ने फूल
तिमीलाई नै खोज्छ...

Page 19
कोसेली

डराउँछु म मृत्युसित

कविता


जन्मेपछि
मर्नु छ एक दिन
तर,
मृत्युसित डराउाछु म ।

भीडमा कतै हराएा कि भनेर
हिाड्दाहिाड्दै
यात्रामा कतै छुटो कि भनेर
वा एकान्तको चिसो ढुंगोमुनि एक्लै
आफ्नै र्‍यालमा अल्मलिरहेको चिप्लेकीरोझौ
आफौले थाहा नपाउने गरी
अचानक
मर्छु कि भन्ने डर लाग्छ ।

जसरी–
पुच्छ्रेतारा खस्छ अचानक
खस्छ–
झरीले चुटिरहेको चुवाको फूल
कुनै अपरिचित तर सुन्दर युवक देखेर तिमी
केही क्षण बिर्सन्छौ मलाई....
मेरो यस्तो मृत्युदेखि मलाई डर लाग्छ ।

जन्मेपछि
मर्नु छ एक दिन
तर,
मृत्युसित डराउाछु म ।

जसरी–
बिजुली सट हुनुअघि सहरमा
कााप्दै तारहरु बेस्सरी हल्लिन्छन् हुरीबतासले
जसरी–
निभ्नुअघि
तिम्रो शयनकक्षमा चट्चट् चट्किन्छ मैनबत्ती
अथवा
सूर्योदयसागै क्रमश: निभ्न थाल्छन् सुदूर गाउामा बत्तीहरु
हत्केलाको हम्काइले
ओठको फुकाइले
बुढी औाला र चोर औालाको चेपाइले
मेरो यस्तो मृत्युदेखि मलाई डर लाग्छ ।

आखिर
मान्छे बााच्ने त प्रेमले हो प्रिय !
बूढी बाादर्नीको काखमा बच्चो बाादरझौ
अथवा
हनुमानको छातीभित्र रामझौ
अथवा
महादेवको छातीभित्र मृगस्वरुपा पार्वतीझौ
अथवा
बुद्धभित्र सिद्धार्थझौ
अथवा
कुनै गंगामायाको हृदयमा उसको हराएको छोरोझौ
मभित्र छ्यौ तिमी
त्यसैले,
आत्महत्या गर्न सक्दिना
मृत्युसित डराउाछु म ।

आफ्नै बच्चाहरुले खाइमारेको
माकुरोको मृत्युदेखि डराउाछु म
चर्को घामले डढाइमारेको
जूनकीरीको मृत्युदेखि डराउाछु म
प्रतिरक्षामा मृत्युवरण गर्ने माहुरीको मृत्यु
वा कुनै युद्धमा मरेको कान्छो मिलिसियाको मृत्युदेखि डराउाछु म ।
सत्य हो जान्दाजान्दै
बग्दाबग्दै नदीमा पुगेपछिको खोलाको मृत्युदेखि डराउाछु म ।

जन्मेपछि
मर्नु छ एक दिन
तर,
मृत्युसित डराउाछु म ।

थाहा छ मलाई
तिमी यतिखेर
घृणाको तिखो चक्कु लिएर
उभिएकी छ्यौ मभित्र
मेरो प्रेम प्रस्ताव र सारा प्रयत्नहरू
भुइाकुहिरोभित्र शीतले लपेटिएको छिचिमिरोको प्वााख भएको छ अहिले
यो पनि थाहा छ मलाई
कि कुनै पनि बेला कदापि छोड्ने छैनौ तिमीले
भर्खरै डिम्बबाट निस्किएको
मुख नउघ्रिसकेको हाासको टिउरोले झौ
ठुङ्नेछौ मेरो सपनाको ढाडमा

तैपनि म,
तिम्रो यौवनको छालले किनारामा हुत्याइएको पेङ्गुइन
आफ्नै रगत लागेको चुच्चोले
कोखा सुम्सुम्याउादै
पुलुक्क हेर्नेछु तिम्रो नक्कली प्रेमको अन्तिम रूप
किनकि,
म एक असल प्रेमी हुा
बााचेर पनि बिस्तारैबिस्तारै
मरिरहेको हाम्रो प्रेमको मृत्युसित
डराउाछु म ।
डराउाछु म आफ्नै मसिना डरहरूसित
डराउाछु म मेरो यो मूल्यहीन मृत्युसित ।

जन्मेपछि
मर्नु छ एक दिन
तर,
मृत्युसित डराउाछु म ।

 

कोसेली

एउटा ब्रान्ड–नेम

स्मृति
बागबजारभित्रको डेराकोठामा एक दिन गितारको अनौठो धुन सुनियो । यो कस्तो धुन हो, यसको कुनै नाम पनि छ कि ? धुन निकाल्ने मञ्जुलले ठटयौली पारामा तत्क्षण जवाफ फर्काए— यो धुनको नाम हो, राल्फा । एउटा अर्थहीन शब्द— राल्फा ।
समयक्रममा जीवनको सार्थक परिभाषा खोज्ने चेत राल्फामा हावी हुँदै गयो । निराशा र निस्सारताका स्वरहरू क्रमश: मलिन हुँदै गए ।
राल्फाली सूत्रधारहरु नोरेम, निरन र मञ्जुल हालैको एउटा भेटवार्ता अवसरमा

एउटा फरक धारको आन्दोलन जसले आफ्नो उत्कर्ष कालमा नेपाली साहित्य–संगीत क्षेत्रमा केही हलचल सृजना गरेको थियो । यो अझै पनि सम्झनाको फेरोमा बाँचिरहेकै छ । यो समूह राल्फाको विसर्जन भएको झन्डै दुई दशक व्यतीत भइसकेको छ । तथापि नयाँ पुस्तामा अद्यावधि राल्फाप्रतिको जिज्ञासा र कौतूहल मेटिएको छैन । राल्फाका सूत्रधार भनेर चिनिएका व्यक्तिहरू यदाकदा संयोगले कुनै स्थानमा एकै ठाउँ भेटिँदा त्यो उनीहरूका निम्ति आश्चर्य र कौतूहलको विषय बन्छ । उनीहरूका जिज्ञासु आँखाहरू राल्फाको बारेमा केही कुराहरू सुन्न लालयित भएझैं देखिन्छन् । मञ्जुल, निरन र मेरो यस्तै एउटा भेटघाटमा पछिल्लो पुस्ताका भाइ राजनका उत्सुकतापूर्ण आँखाहरू उसैगरी हामीतिर एकोहोरिएका थिए त्यस दिन । तपाईंहरूको यस्तो भेटघाट देखेर मलाई आज अत्यन्तै खुसी लागिरहेछ, यसलाई निरन्तरता दिइरहनुहोला— भनेका थिए राजनले ।


मैले भनें— जिन्दगीका उल्लास र रोमाञ्चक अनुभव बाँडेर जिउने बेला हो, हाम्रो यतिखेर । तर, त्यति गर्न सकिएको छैन । फेसबुकले हाम्रा सामाजिक सम्बन्धको परिभाषा नै बदलिदिएको छ । स्मार्टफोनको स्क्रिनमा औंला थिचेर साथीभाइका स्टाटस लाइक गरिदिएपछि सशरीर भेटघाटको लन्ठो उठाइरहनु नपर्ने जमाना आएको छ । भावनात्मक संवेग मृतप्राय: छ ।


राल्फाबारेमा आजसम्म नउघ्रिएका कतिपय पाटाहरू अवश्य अझै बाँकी होलान्, त्यो सुन्न लालायित छु म आज । यस्ता भेटघाटमा तपार्इंहरू बीचमा हुने एकदमै अन्तरंग कुराकानीहरू कस्ता होलान्— त्यो पनि सुन्ने रहर छ मेरो । कौतूहल भरिएको राजनको आवाज छरिन्छ कोठाभरि । हामी मन्द मुस्कानमा परस्पर मुखामुख गर्छौं । मञ्जुलको अनुहारमा धेरै समयपछि उही पुरानै लोभलाग्दो मुस्कुराहट फर्किएको देख्छु म । राल्फाका आजसम्म नउघ्रिएका परिच्छेदहरू के होलान् ?


राजनको यो जिज्ञासा सुनेर उमेरले भुत्ते हुँदै गएको मेरो दिमागमा पनि केही सल्बलाएजस्तो अनुभव हुन्छ । पाँच दशकअघि जन्मिएको राल्फा, त्यसको उतारचढाव, राजनीतिले ल्याइदिएको विभाजन, विसर्जन र रूपान्तरणका परिघटना केस्राकेस्रा गरी केलाउने हो भने ठेलीहरू तयार हुन्छन् । राल्फामाथि आलोचनात्मक आलेख फुटकर रूपमा प्रकाशित त छन् तर तिनले राल्फाको समग्र तस्बिर प्रस्तुत गर्दैनन् । ३०–४० को दशकमा सर्वाधिक चर्चा र चासोमा परेका राल्फाको विकास यात्राका अनेक घुम्तीहरू ठम्याउन पनि मुस्किल हुँदै छ अव । व्यक्तिका स्मृतिमा कतिन्जेल विगतका सबै कुरा सुरक्षित रहन्छन् र ? अन्योलग्रस्त म निरन र मञ्जुलतिर दृष्टि फिजाउँछु ।


राल्फाको उद्भव र विकासयात्राको एक जना साक्षी हुन्— निरन । आरम्भदेखि नै मञ्जुलनिकट रहेर राल्फालाई उनले नजिकबाट नियालिरहेका छन् । हक्की स्वभाव छ उनको, अर्थात् स्ट्रेट–फरवार्ड । आफ्नो स्मृतिमा संगृहीत केही नौला कुराको पोका खोल्न थाल्छन् उनी । भन्छन्— त्यो बेलाको कुरा, एक दिन मञ्जुल बागबजारको आफ्नो कोठामा गीतारमा औंला चलाइरहेका थिए । केही अनौठो धुन निक्लिरहेको थियो उनको गीतारबाट । हाम्रा साथी ओम सिटौला पनि त्यहाँ हामीसँगै थिए । गीतारको त्यो अनौठो धुन सुनेर ओमले मञ्जुललाई सोधे— यो कस्तो धून हो, यसको कुनै नाम पनि छ कि ? मञ्जुलले ठटयौली पारामा तत्क्षण जवाफ फर्काए, हो यसको नाम छ । यो धुनको नाम हो— ‘राल्फा’ । पहिलोचोटि सुनेको राल्फा शब्द साँच्चै नै अनौठो प्रतिध्वनित भइरहेथ्यो । ओम आश्चर्यमिश्रित भावमा मञ्जुललाई एकटक हेरिरहेका थिए, मजस्तै । उत्सुकता भरिंदै जान्छ, उनको आँखा र अनुहारमा पनि ।


हौसिँदै मञ्जुल भन्छन्— हो, राल्फा अचानक मेरो दिमागमा उब्जिएको शब्द थियो, जसको कुनै अर्थ थिएन । त्यसताका नौलो र अनौठो शब्द सृजना गर्ने र तिनलाई कविता लेखनमा प्रयोग गर्ने मेरो सोख नै थियो । रामेश, रायन र अरिमसँग मेरो सांगीतिक सामीप्य बढेपछि र तत्कालीन परिस्थितिले एउटा समूह नै बनाएर हिँड्नुपर्ने बाध्यता आइलागेपछि त्यो समूहको नाम नै राल्फा राख्ने हाम्रो बीचमा सहमति भयो । यसरी राल्फा जन्मिएको हो । पारिजात दिदीसँगको हाम्रो निकटता भने केही पहिलेदेखि नै थियो । हामीलाई एउटा समूहमा आबद्घ भएर काम गर्ने उत्प्रेरणा उहाँले नै दिनुभएको हो । समयक्रममा निरन, विमल, निनु, नोरेम पनि राल्फा समूहमा आबद्घ हुँदै गए । गणेश रसिक पनि केही समय राल्फामा थिए । पछि उनी राल्फा छाडेर लेकाली समूहमा गाँसिन पुगे । पारिजात दिदीचाहिँ अलिक पछि राल्फा हुनुभएको हो । उपन्यास ‘छेकुडोल्मा’ को भूमिका लेख्दा पहिलोचोटि उहाँले आफ्नो नामका पछि राल्फा शब्द जोड्नुभएको हो । यसरी राल्फा हामी सबैलाई जोड्ने एउटा भावनात्मक सूत्र भएर देखा पर्‍यो । पछि गएर एउटा ‘टिपिकल ब्रान्डनेम’ जस्तै भयो यो ।


राल्फाको जन्मकथाका प्रसंगहरू ‘रिवाइन्ड’ भइरहँदा म पनि आफ्नो अतीतका ती रमाइला क्षणमा एक छिन हराउन पुग्छु । राजन ध्यानमग्न भएर हाम्रा कुराकानीमा लठ्ठिरहेझैं देखिन्छन् । राजनले कुनै बेला मलाई सुनाएको उनको रहर अनायास सम्झन पुग्छु म त्यहाँ त्यसबेला । उनले भनेका थिए, राल्फाको समय समकालीन नेपाली साहित्य र संगीतको एउटा महत्त्वपूर्ण कालखण्ड हो । समग्रतामा राल्फाको अध्ययन, विश्लेषण र प्रस्तुति आवश्यक छ । यो भएको छैन । मलाई व्यक्तिकेन्द्रित भएर हैन, समूहकेन्द्रित भएर राल्फाको बहुआयामिक व्यक्तित्व उजागर गर्न मन लागेको छ । डिजिटल आर्काइभमा त्यसलाई सुरक्षित राख्ने मेरो रहर छ । उनको त्यो रहर सम्भँmदा मलाई लागिरह्यो, राल्फासँगको यो आकस्मिक साक्षात्कार राजनका निम्ति अझ बढी रोमाञ्चक भइरहेको हुँदो हो ।


के साँच्चै कसैको लहडमै जन्मिएको हो त राल्फा शब्द ? अनि यससँग गाँसिएका व्यक्तिका अनौठा नामहरू ? दिमागमा नसुल्झिएका यी प्रश्नहरूमा राजन घोत्लिरहेझैं देखिन थाले । कुरो वास्तवमा लहडको मात्रै थिएन । यथास्थितिवाद र परम्परागत रुढीप्रति वितृष्णा र विरोध जनाउने दमित आकांक्षाको अभिव्यक्ति पनि थियो— राल्फाको त्यो शब्द सृजना । परम्परावादी आफ्नै नाम निषेध गर्ने चाहनाको प्रतिविम्बन थियो त्यो काम त्यसबेला । जातीय गन्धरहित ती नामहरू जातपातविरोधी राल्फाली चेतको अभिव्यक्ति पनि थियो । पछि मानिसले आफैं अनेक कोणबाट राल्फाको अर्थ केलाउन थाले ।


निरन सम्झन्छन्— ऊ राल्फा भएको थाहा पाएर उनलाई चिन्ने केही मानिसहरू उनको नजिक पर्दा तर्सिएको मृगझैं हुन थालेका थिए । राल्फासँग बोलचाल गर्दा बिटुलो नै भइन्छजस्तो गर्थे रे कोहीकोही । समूह चिनाउने अनौठो शब्द र राल्फालीका बेग्लै ध्वनिका विचित्र नामहरू सुनेर त्यसबेला मानिसहरू अचम्म मान्थे । नेपाली शब्द भण्डारले नपुगेर नौला शब्द सृजनामा लागेको मञ्जुललाई ‘देवकोटाभन्दा पनि ठूला कवि’ भन्दै उनको कुरा काट्ने मानिसको पनि कमी थिएन ।


राल्फाको अर्थ तिमीहरूले नबताए पनि मलाई थाहा छ । एक पटक बिजु नाम गरेका अफिसको साथीले एउटा अनौठो कुरो सुनाए निरनलाई । बिजुले निरनको कानमा सुटुक्क भने— राल्फा शब्दको अर्थ ‘रोयलफाएर’ हो अर्थात् राजतन्त्र नास गर्ने समूह । राल्फा शब्दको त्यो अनौठो परिभाषा सुनेर निरन त्यसबेला अचम्मित भएका थिए । यसरी राल्फालाई सुरुदेखि नै तत्कालीन सत्ताविरोधीका रूपमा चित्रित गर्ने जमात पनि देखा पदै थियो काठमाडौंमा । राल्फाको विद्रोही चेतका गीतहरू र साहित्य रचनाको बेग्लै बान्की देखेर राल्फामाथि त्यस प्रकारको आरोप लगाउन मानिसलाई पर्याप्त आधार तयार भइरहेको समय थियो । पञ्चायती शासकको आँखा र कान चनाखो हुँदै थियो— राल्फाली हरेक गतिविधिप्रति । तर, त्यसबेलासम्म राल्फा भने राजनीतिक चेतनाबाट निकै टाढै थिए । कुनै वैचारिक धरातलबिनाको स्वत:स्फूर्त विरोधमा मग्न थिए राल्फा ।


अहिले आएर हेर्दा लाग्छ, राल्फाको आरम्भिक कालखण्ड विश्व साहित्यको तत्कालीन ट्रेन्ड–फ्रेडरिक नित्सेले हुर्काएको शून्यवादी र निस्सारतावादी दर्शनबाट प्रभावित थियो । नित्सेको ‘ईश्वर मरिसक्यो’ भन्ने उद्घोषप्रति एक प्रकारको आकर्षण थियो राल्फामा पनि । अलबर्ट कामु र ज्याँ पाल सात्रको साहित्यबाट प्रभावित हुँदै थिए राल्फा । सारा परम्परावादी मूल्य मान्यता नकार्ने प्रवृत्ति र जिन्दगीलाई अर्थहीन ठान्ने सोच शून्यवादी दर्शनको सार थियो । पारिजातको उपन्यास ‘शिरीषको फूल’ र मञ्जुलको उपन्यास ‘छेकुडोल्मा’ को केन्द्रीय कथानकमा त्यही निस्सारतावादी दर्शनको परोक्ष–प्रत्यक्ष प्रभाव देख्न सकिन्छ । नितान्त नौलो बान्कीमा लेखेका थिए मञ्जुलले छेकुडोल्मा । हाडे ओखरजस्तो । दिमागै चकराउने खालको । त्यस खालको उपन्यास सायद त्यो नै पहिलो थियो । हाम्रा कविता लेखनमा पनि जीवनप्रति निस्सारताका स्वरहरू नै बढी मुखरित हुँदै थिए ।


मञ्जुलको अमूर्त र अनौठो शब्दावलीमा रामेशले संगीत र स्वर दिएका केही गीतहरू यस्ता पनि थिए जसलाई सुनेर श्रोताहरूको प्रतिक्रिया हुन्थ्यो, शब्द बुझिएन तर स्वर र धुन मीठो छ । तर, अधिकांश राल्फाली गीतहरूको मूल स्वर भने सुरुदेखि नै अर्थपूर्ण र जीवनवादी नै थिए । गीतको शब्द चयनमा राल्फा निकै संवेदनशील बन्दै गएको समय थियो त्यो । सामाजिक रूपान्तरणमा गीतले केही सन्देश दिनुपर्छ भन्ने धारणा प्रबल हुँदै गएको थियो राल्फामा । राल्फाको कतिपय गीत सृजनाका स्वरहरू अहिलेसम्म पनि जनमानसको हृदयमा गुन्जिरहनुको एउटा कारण त्यो पनि हो ।


समयक्रममा जीवनको सार्थक परिभाषा खोज्ने चेत राल्फामा हावी हुँदै गयो । निराशा र निस्सारताका स्वरहरू क्रमश: मलिन हुँदै गए । पारिजात दिदी र हाम्रो साहित्य लेखनमा सूक्ष्म रूपान्तरणको प्रक्रिया सुरु हुन थालेको समय थियो त्यो । पठन संस्कृतिमा हुर्किएका राल्फाहरू अन्तर्राष्ट्रिय प्रकाशनका चर्चित पुस्तकहरूको अध्ययनमा निरन्तर डुबिरहन्थे । यसैका कारण संसारमा भइरहेको परिवर्तनको लहरबाट चाँडै प्रभावित पनि हुन्थे । लाग्छ, राल्फालाई गतिशील तुल्याइरहन पुस्तक अध्ययनमा राल्फाको गहिरो लगावले पनि राम्रै मद्दत पुर्‍याएको थियो ।


म सम्झन्छु— त्यसैताक चेगेवारा, फिडेल क्यास्ट्रो, रेजिस देव्रे आदिका पुस्तकहरूको अध्ययनमा हामी मग्न हुन थालेका थियौं । एडगर स्नोको ‘रेड स्टार ओभर चाइना’ पनि हाम्रो पाठयसामग्रीमा समावेश थियो । राल्फामा तात्त्विक रूपान्तरणको सुरुआत तिनै पुस्तकसँगको सम्पर्क र अध्ययनपश्चात् देखा पर्न थालेको थियो । दक्षिण अमेरिकामा फैलिएको क्रान्तिको लहर र चेगेवारा, फिडेल क्यास्ट्रोले नेतृत्व गरेको गुरिल्ला युद्घको चमत्कारी र रोमाञ्चक कथाहरूले हामीलाई निकै गहिरो प्रभाव पार्न थालेको समय थियो त्यो । मेरो सम्पादनमा निस्कने राल्फाली साहित्यिक पत्रिका ‘यन्त्रणा’ मा चेगेवारा र गुरिल्ला युद्घको सामान्य चर्चा गर्न हामीले भ्याएका थियौं । पञ्चायती प्रशासनले त्यसलाई आपत्तिजनक ठान्यो । तर, त्यो उमेर र समय नै यस्तो थियो, हामी त्यस्ता कुराबाट भयभीत हुने कुरै थिएन ।


चे र फिडेलकै रोमाञ्चक जीवनगाथाको प्रभाव पनि एउटा कारण हुँदो हो, त्यसैताक मञ्जुलले राष्ट्र बैंकको आकर्षक जागिर अचानक परित्याग गरे र रामेशसँग पूर्वी नेपालका गाउँघरमा आफ्नो एक बहुचर्चित सांगीतिक यात्राको सुरुआत गर्ने निर्णय लिए । ग्रामीण जनजीवनसँग साक्षात्कार गर्ने त्यो उनीहरूको एक जोखिमपूर्ण तर साहसिक निर्णय थियो । त्यो घटना उनीहरूको जीवनमा अर्को एक महत्त्वपूर्ण फड्को सावित भयो । त्यसै बेलादेखि राल्फा राजनीतिको अर्कै कलेवरमा देखा पर्न थालेको हो । एउटै समूहको रूपमा राल्फा नरहेर समूह विघटनको सुरुआत पनि त्यसै बेलादेखि भएको हो ।


चेगेवारा र फिडेल क्यास्ट्रोको जीवन दर्शनबाट प्रभावित राल्फालाई त्यसबेला नेपालको कुनै राजनीतिले प्रभाव पार्न सक्थ्यो भने त्यो निश्चय पनि देब्रे धारको राजनीति नै हुन्थ्यो । नभन्दै त्यस्तै भयो, आफ्नो मूल प्रवृत्तिअनुसार राल्फाहरू क्रमश: वाम विचारधारामा समाहित हुँदै गए । विभिन्न चिरामा विभाजित नेपालका वामपन्थी समूहहरूमा आआफ्नो रुचि र विश्लेषणअनुसार उनीहरू गाँसिन पुगे । केही साथीहरू भने राजनीतिबाट निरपेक्ष रहेर स्वतन्त्र ढंगले जीवन व्यतीत गर्न थाले ।


निष्क्रिय भएर बस्ने स्वभाव थिएन राल्फाको । दुई अलग धारका वामपन्थी समूहमा आबद्घ त्यसबेलाका निकै चर्चित सांस्कृतिक मोर्चा सम्हाल्न थाले राल्फाहरूले । संकल्प र इन्द्रेणी नामका प्रगतिशील सांस्कृतिक मोर्चा हाँकेर वामपन्थी राजनीतिको जनाधार सृजनामा राल्फाहरूले खेलेको भूमिका उल्लेखनीय रह्यो । तर, एउटा अनौठो कुरा, राल्फाले नै हाँकेका यी दुई मोर्चा बीचमा पानी बाराबारको सम्बन्ध थियो । राल्फाको विगतको एउटा सुन्दर कालखण्ड इतिहासको गर्तमा कतै बिलाइसकेको थियो । तत्कालीन वाम राजनीतिक धारहरूमा देखा परेको परस्पर शत्रुतापूर्ण सम्बन्धकै प्रतिच्छाया थियो त्यो ।


यसरी जुट्दै, टुट्दै, फुट्दै र फेरि जुट्दै इतिहासको एउटा अप्ठेरो कालखण्डमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै अघि बढेका राल्फाहरू अहिलेसम्म पनि राल्फाकै ‘ब्रान्ड–नेम’ मा चर्चाको सेरोफेरोमा आइरहेकै छन् । अप्ठेरा दिनहरूमा हामीले बिताएको त्यो समयले एउटा बेग्लै सुखको अनुभूति दिइरहन्छ अझै पनि । लाग्छ, अरू साथीहरूलाई पनि यस्तै अनुभूति हुँदो हो । तर, एउटा यथार्थ के हो भने, राल्फाले आफ्नो ऊर्जाशील उमेर र समय जुन ढंगको सामाजिक रूपान्तरणको सपना बोकेर समर्पित गरेका थिए त्यसको तिर्खा भने अझै मेटिएको छैन राल्फामा ।


त्यस दिन मञ्जुल र निरनसँगको अनायास भेटघाट र भाइ राजनको जिज्ञासाका कारण राल्फाको विगतमा डुबुल्की मार्दा समय बितेको पत्तै भएन हामीलाई । हिँड्न लाग्दा राजनले फेरि अर्को प्रश्न तेस्र्याएर हाम्रो बाटो छेके, दाइ फेरि यस्तै अर्को भेटघाट कहिले ? अँ भेटौला नि । एउटा अमूर्त र अस्पष्ट जवाफ दिँदै हामीले बिदा माग्यौं । हिँड्दै गर्दा मनमा लागिरह्यो, सायद राल्फालाई सम्पूर्णतामा बुझ्ने राजनको चाहना पूरा हुन अझै बाँकी नै छ । थाहा छैन, ढल्किँदो उमेरका राल्फालीहरूको यस्तो भेटघाट उनीहरूकै मानसिक स्वास्थ्यका निम्ति पनि लाभदायक हुन्छ भनेर राजनले यस्तो आग्रह पालेका हुन् कि । जे होस्, पुस्तान्तरण संवादमा सहभागी भइरहँदा दिमागमा एउटा बेग्लै ताजगी भरेर फर्किएको थिएँ म त्यस दिन । 

Page 20
कोसेली

लिपि : बहस कम, विवाद धेरै

भाषा
भाषा र लिपि माथिको बहस अहिले उत्सर्गमा छ । यो बेला हामीसँग रहेका सबै लिपिहरूको खोजबिन जरुरी छ ।

नेपालीमा लिपि शब्दले भाषालाई स्थायी रूप दिन प्रयोग हुने ध्वनिहरूको रेखात्मक चिह्नहरू हुन् । यसलाई अंग्रेजीमा स्क्रिप्ट भनिन्छ । लिपिको विकास भाषाको विकासभन्दा कान्छो हो । संसारमा प्रचलनमा रहेका अधिकांश लिपि चित्र लिपिबाट आरम्भ भएका हुन् ।

 

भाषा
राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को तथ्याङ्कमा नेपालमा जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ देखाएको छ । नेपालमा १२५ जातजाति छन् । नेपालमा १२३ भाषा बोलिन्छन् । सबैभन्दा धेरै ४८ प्रतिशतले खस नेपाली भाषा बोल्छन् भने सबैभन्दा कम कुसुन्डा भाषा २८ जनाले बोल्छन् । (कुसुन्डा भाषाका अन्तिम वक्ता मानिएका राजामामाको २०७५ वैशाख ५ गते तनहुँको दमौलीमा निधन भइसकेकाले पितृसत्ताका हिसाबले कुसुन्डा भाषाको अन्त्य भएको मानिएको छ । यद्यपि भाषाशास्त्री प्रा.डा. माधवप्रसाद पोखरेलका अनुसार कुसुन्डा भाषा बोल्न जान्ने स्वजातिका दुई महिला र अनुसन्धाता एक गरी तीन जना छन् ।)


नेपालमा चार परिवारका भाषा बोलिन्छन् । भोट बर्मेली भाषा परिवारका ६४ वटा भाषा छन् । त्यसमा किरात समूह, मगर, तामाङ, गुरुङलगायत छन् । त्यसैगरी भारोपेली भाषा परिवारका ३० वटा छन्, जसमा खस–नेपाली, नेपाली सांकेतिक भाषासमेत पर्छ । आग्नेय भाषा परिवारका ४ वटा सन्थाल, खडिया, मुन्डा र मापाँडे भाषा पर्छन् । द्रविड भाषा परिवारका झाँगड (उराँव) र किसान भाषा रहेका छन् । लोपोन्मुख मानिएको कुसुन्डा भाषा अहिलेसम्म अवर्गीकृत रूपमै रहेको छ । नेपालमा बोलिने विदेशी भाषा अंग्रेजी, चिनियाँ, जोङ्खा, तिब्बतीलगायत २२ वटा छन् । यद्यपि नेपालमा स्वदेश र विदेशका गरी करिब १ सय ४० भन्दा बढी भाषा बोलिन भाषाशास्त्रीहरू बताउँदै आएका छन् ।

 

लिपि
‘लिपि’ भनेको अक्षर लेख्ने प्रणाली हो । ‘अक्षर’ भनेको व्यञ्जनसहित वा रहित स्वर भएको सिङ्गो ध्वनि वा ध्वनिसमूह हो । नेपालीमा लिपि शब्दले भाषालाई स्थायी रूप दिन प्रयोग हुने ध्वनिहरूको रेखात्मक चिह्नहरू हुन् । यसलाई अंग्रेजीमा स्क्रिप्ट भनिन्छ । लिपिको विकास भाषाको विकासभन्दा कान्छो हो । संसारमा प्रचलनमा रहेका अधिकांश लिपि चित्र लिपिबाट आरम्भ भएका हुन् । त्यसपछि क्रमश: भावात्मक लिपि, आक्षरिक लिपि र वार्णिक लिपि विकसित भएको विज्ञहरूको मत छ । जसले गर्दा लिपिको सहायताले मान्छेले भाषालाई देशकालको सीमाभन्दा बाहिर ल्याउन सकेका हुन् । संसारमा ६ हजार जति भाषा र चार सय जति लिपि रहेका छन् । लिपिको विकास इपू ४००० तिर लिपिको प्रयोग भएको मानिन्छन् ।


नेपालको सन्दर्भमा ब्राह्मी लिपिबाट अघि बढेको पाइन्छ ।


ब्राह्मी लिपिको दुई हाँगा विस्तार भएको थिए– गुप्ता र पूर्वलिच्छवि । त्यसपछि पूर्वलिच्छविबाट उत्तरलिच्छवि हुँदै नेपाललिपि (रञ्जना, भुजिमोलसहित) को विकास भएको मानिएको छ । त्यसैगरी गुप्ताबाट दुई हाँगा देखिए— कुटिला र तिब्बती । कुटिलाबाट देवनागरी, मैथिली विकसित भए । तिब्बती लिपि सातौं शताब्दीमा विकास भएको मानिन्छ । तिब्बतीबाट कैथी, किराती, रोङ लिपिको विकास भएको भन्ने पाइएको छ । किरात लिपि अठारौं शताब्दी र रोङ उन्नाइसौं शताब्दीमा विकास भएको उल्लेख छ ।

 

प्रचलनमा १४ लिपि
१) देवनागरी लिपि : देवनागरी लिपिमा खस नेपालीलगायत मुलुकमा बोलिने अधिकांश मातृभाषाहरू लेखिन्छन् । ब्राह्मी लिपिबाट यसको विकास भएको मानिन्छ । खासगरी यो लिपिलाई नागरी लिपि मात्र भनिन्थ्यो भने पछि धार्मिक आस्थासमेत जोडेर ‘देवनागरी’ नामकरण गरिएको हो । देवनागरी लेखनको शास्त्रीय मान्यता विशिष्ट
किसिमका भए पनि नेपालमा बोलिने भाषाहरूको विशेषताअनुसार फरक ढंगले प्रयोग गर्ने गरिएको छ । यो लिपिलाई विश्वव्यापी रूपमा प्रचलित छ ।


२) रोङ लिपि : लेप्चा भाषा रोङ लिपिमा लेख्ने गरिन्छ । विशेषगरी नेपालको पूर्वी इलाममा रहेका लाप्चा (लेप्चा) जातिले यो लिपि प्रयोग गर्छन् ।


३) किरात लिपि : यो लिपिलाई सिरिजंगा लिपि पनि भनिन्छ । विशेषगरी किराती लिम्बु जातिले मातृभाषा लिम्बु लेखनमा यो लिपि प्रयोग गर्छन् । त्यसैले लिम्बू लिपि पनि भन्ने गरिन्छ । यद्यपि किराती राई समूहका वाम्बुले, बान्तवा, चाम्लिङ, बाहिङलगायत भाषाहरू किरात लिपिमा लेख्ने गरेका छन् ।


४) सम्भोटा/उछेन लिपि : तिब्बती भाषाहरू यो लिपिमा लेखिन्छ । शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने जातिले सम्भोटा (उछेन) लिपिको प्रयोग गर्छन् । त्यसैगरी सम्भोटालाई केही परिमार्जनसहित तामाङ जातिले ‘तामयिग लिपि’ भनेर प्रयोग गरेको पाइन्छ ।


५) रञ्जना लिपि : नेवार (नेवा:) जातिले मातृभाषालाई नेपालभाषा भन्छन् । यो भाषा रञ्जना लिपिलगायत प्रचलित लिपि, भुजिमोल, पाचुमोल, कुम्मोल, गोलमोल, लितुमोल, हिंमोल, क्वेंमोल आदि लिपिमा लेख्ने गरिन्छ । यी लिपिलाई नेवा: लिपिका रूपमा विकास गरिएको छ ।


६) ओलचिकी लिपि : झापा र मोरङ जिल्लामा बोलिने सन्थाली भाषा लेखन यो लिपिको प्रयोग गरेको पाइन्छ ।


७) खेमा लिपि : यो लिपि तमु (गुरुङ) जातिले आफ्नो मातृभाषा लेख्ने गरेका छन् ।


८) मिथिलाक्षर (तिरहुत) : मैथिली भाषा लेखनमा यो लिपि प्रयोग गरेको पाइन्छ । बंगला लिपि र रञ्जना लिपिसँग यसको निकटता रहेको विज्ञले जनाएका छन् ।


९) अक्खा लिपि : मगर जातिले मातृभाषा लेखन गर्दा अक्खा लिपि प्रयोग गर्छन् । मगरभित्र ढुट, काइके र पाङ (खाम) गरी तीनथरी भाषा बोलिन्छन् ।


१०) कैथी लिपि : यो लिपि तराईमा बहुसंख्यकले बोल्ने मैथिली र भोजपुरी भाषा लेखनमा प्रयोग गर्न गरिन्छ । यद्यपि सर्वसुलभताका हिसाबले देवनागरी नै बढी चलनमा रहेको छ ।


११) धम् लिपि : झापाका आदिवासी धिमालले आफ्नो मातृभाषा लेखनमा यो लिपि प्रयोग गर्ने गरेका छन् । गोरखापत्र दैनिकको ‘नयाँ नेपाल’ धिमाल भाषा पृष्ठमा यो लिपि सजाइएको पाइन्छ ।


१२) उर्दू लिपि : बोलीचालीमा उर्दू भाषा र लिपि भन्ने गरिन्छ । खासगरी उर्दू भाषा फारसी लिपिमा लेखिन्छ । नेपालमा रहेका उर्दूभाषी स्रष्टाले यो लिपिको प्रयोग गर्छन् । उर्दू भाषा अन्तर्राष्ट्रिय रूपमै प्रचलनमा रहेकाले यो लिपि व्यापक रहेको मान्न सकिन्छ ।


१३) ब्रेललिपि : दृष्टिविहीन व्यक्तिले हातले छामेर अक्षर पढ्न सक्ने लिपिलाई ब्रेललिपि भन्ने गर्छौं । यो लिपि अन्तर्राष्ट्रिय रूपमै प्रचलनमा रहेको छ । देशअनुसार फरक ढंगले प्रयोग गरिन्छ ।


१४) रोमन लिपि : रोमसभ्यताबाट विकसित लिपि रोमन लिपि हो । यो लिपि मुख्यगरी अंग्रेजी भाषा लेख्ने गरिन्छ । प्रयोगका दृष्टिकोणले संसारका धेरै भाषा लेखन गर्दा रोमन लिपिको प्रयोग गरेको पाइन्छ । नेपालमा देवनागरी लिपिलाई सरकारी कामकाजको भाषा बन्नुअघिसम्म रोमन लिपिको व्यापक प्रयोग गर्ने गरिन्थ्यो ।


यसका अलावा छिमेकी भारतको सिक्किममा भाषिक समुदायलाई प्राथमिकता दिएको हुँदै राईहरू भाषालाई कृपासल्याण लिपि र जेँ:तिचा लिपि किराती कोँइच (सुनुवार) भाषा लेख्ने गरिएको पाइन्छ । नेपालमा पनि त्यसको चर्चा गर्ने गरिएको पाइन्छ ।

 

मत
नेपालको संविधान (२०७२) ले मुलुकमा बोलिने भाषालाई ‘राष्ट्रभाषा’ को संज्ञा दिएको छ । संविधानत: भाषा आयोग गठन भएको छ । आयोगले सरकारी कामकाजको भाषा निर्धारण गर्नेछ । त्यसैगरी भाषाहरूको मुलुकमा रहेका भाषाहरूको सर्वेक्षण, अध्ययन अनुसन्धान गरी त्यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका उपायहरू सुझाउने छ । शिक्षामा मातृभाषाको प्रयोग सिफारिस गर्नेछ । ‘लिपि भाषाकै अभिन्न पक्ष हो, यसको शास्त्रीय पक्ष र वर्तमानमा प्रयोग महत्त्वपूर्ण छ,’ भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी भन्छन्, ‘मुलुकमा प्रचलनमा रहेका १४ वटा लिपिको प्रयोग र प्रविधिसितको सम्बन्ध हेरिनेछ । संवद्र्धन, प्रवद्र्धनका पक्षमा प्राथमिकता दिइनेछ ।’


भाषाशास्त्री प्रा. चूडामणि बन्धु भाषा र लिपि सम्बन्धित जाति र मुलुकको पहिचान भएको उल्लेख गर्छन् । ‘नेपालका प्रचलित प्रमुख लिपिहरू’ नमक पुस्तकका सम्पादक बन्धु भन्छन्, ‘तर व्यवहारमा जुन भाषा र लिपि बढी प्रचलनमा छ, त्यसमा मान्छेको आकर्षण बढ्ने भएकाले नेपालमा पाइने लिपिहरूलाई निरन्तर प्रयोग तथा व्यवहार गर्न कठिनाइ भइरहेको छ ।’
अर्का भाषाशास्त्री प्रा. योगन्द्रप्रसाद यादव भाषा आयोगले हरेक प्रदेशमा शाखा विस्तार गरेसँगै प्रादेशिक र स्थानीय सरकारले त्यहाँ बोलिने भाषा र प्रयोग गरिने लिपिको संरक्षणमा विशेष जोड दिनुपर्ने बताउँछन् । ‘भाषा, लिपि र संस्कृति एकअर्काका पर्याय हुन्, त्यसैले त्यसको मौलिकता संरक्षण गर्न जरुरी छ,’ यादवको सुझाउँछन् ।


नेपालमा भाषा, लिपि अनि संस्कृतिलाई राजनीतिक रंग दिएर अधिकारको विषय बनाइएको पाइन्छ । यो विषय सत्ता पक्षलाई जहिल्यै टाउको दुखाइको कारण बन्ने गरेको छ । यद्यपि भाषा पुर्खाले आर्जेको सम्पदा हो भने लिपिको प्रयोग प्राज्ञिक अभ्यासको फल हो । यसर्थ यसलाई सांस्कृतिक सम्पदाकै रूपमा स्विकार्नु उचित हुने संस्कृतिविद्हरूको मत पाइन्छ ।
[email protected]

Page 21
कोसेली

यताका ढोई, उताका मत्ता

सन्दर्भ
शोभाकली यात्रा

सबैभन्दा बढी हात्तीपीडित र प्रभावित भनेर चिनिएको बाहुनडाँगीले जानीनजानी हात्तीमाथि अन्याय गरेझैं लाग्छ । बंगालबाट बाहुनडाँगी हुँदै कोसीटप्पु आउने मत्ता (भाले) हात्तीहरू खासमा यताका ढोई (पोथी) सँग प्रेम र संसर्ग गर्न हत्ते हालेर लामो यात्रामा निस्केका रहेछन् । तर, अहिले बाहुनडाँगीको सीमावर्ती जंगलमा विद्युतीय तारबार लगाएपछि मत्ता–ढोईबीच न प्रेम छ, न संसर्ग नै ।


के कुनै जबरजस्त प्रेम–कहानी केटाकेटीबीच मात्रै हुन्छ र ? होइन रहेछ । जीवजन्तु प्रजातिमै ठूलो मानिएको भाले हात्ती र ढोइबीचको प्रेम पनि उत्तिकै रोचक हुने रहेछ । कोसीटप्पु हात्तीसारका जंगली मत्ता (भाले) र ढोई (पोथी) हात्तीबीचको प्रेम कहानी अहिले पूर्वी भेगतिर चर्चामा छाएको छ ।


मत्ता हात्ती माकुना र आरक्षको ढोई हात्ती शोभाकलीबीच प्रेम चलेको एक दशक भइसकेको छ । अहिले फेरि अर्को पटक यो प्रेम टुसाएको छ, शोभाकलीका गर्भमा, देशदुनियाले थाहा पाउने गरी हुर्कंदै गरेको बच्चा माकुनाको प्रेम हो सर,’ हात्तीसारका दरोगा सुनील तामाङ माकुना–शोभाकली प्रेमका साक्षीझैं भेटिए ।


संयोग कस्तो छ भने उही माकुना र शोभाकलीकी जेठी छोरी लक्ष्मीकली (हाल १० वर्षीया) पनि यतिखेर दुई जीउकी छे । अर्थात्, आमाछोरी दुवै गर्भवती बनेका छन् । लक्ष्मीकली भने जंगली दाह्रे हात्तीबाट गर्भवती भएकी हो ।


प्रेमले मानिसलाई मात्र होइन, पशुलाई पनि एकअर्कामा समर्पित गराउँछ भन्ने उदाहरण बनेको छ— माकुना–शोभाकली प्रेमकहानी । कोसीटप्पु आरक्षमा रहेका पोथी हात्तीसँग संसर्ग गर्नै भनेर भारतको पश्चिम बंगालबाट बर्सेनि हिउँदयाममा हात्तीको एउटा झुन्ड आउने गर्छ । यही झुन्डमा मिसिएर १२ वर्षअघि माकुना (दाह्रा नभएको) हात्ती पनि कोसीटप्पु आइपुगेको थियो । त्यो बेला ४८ वर्षीया अधबैंसे ढोई शोभाकलीसँग मोहित भएको माकुना फेरि फर्किएर मूलघर (बंगाल) कहिल्यै गएन । जत्थामा आएका अरू सबै हात्ती बाहुनडाँगी हुँदै बंगाल छिरे पनि माकुना भने शोभाकलीकै वरपर झुमिरह्यो—पागलप्रेमी बनेर । हो, त्यही बेला माकुना–शोभाकली संसर्गमा लक्ष्मीकली जन्मिएकी थिई ।


यो प्रेमकहानीको दु:खको किस्सा अब भने बाहुनडाँगी गाउँसँग पनि जोडिएको छ । हात्तीआतंकबाट देशभरमै पीडित गाउँका रूपमा बाहुनडाँगी चिनिएपछि सरकार र स्थानीय निकाय मिलेर सीमावर्ती जंगलमा विद्युतीय तारबार गरिएको ३ वर्ष भइसकेको छ । अहिले ढोई खोज्दै भाले हात्तीहरू भारतबाट नेपालसम्मको यात्रामा आउन नसक्ने भएका छन् । पछिल्लो पटक झन्डै ४ वर्षअघि बंगालबाट कोसीटप्पु आइपुगेका १० वटा भाले हात्ती नै अन्तिम यात्रु बनेका छन्, यिनीहरू सबै आरक्षको ढोई हात्तीसँग लहसिएर यतै बसिरहेका छन् । अब घर फर्कने अथवा द्विदेशीय संसर्ग गर्ने कुरा पनि ‘विद्युतीय तारबार’ का कारण रोकिएको छ । यताका ढोई यतै, उताका मत्ता उतै ।

शोभाकली र माकुना


शोभाकलीका माउते जगन्नाथ चौधरी सम्झन्छन्, ‘दिनभर अरू हात्तीसँगै जंगलमा बस्ने माकुना साँझ परेपछि जहिल्यै शोभाकलीलाई भेट्न हात्तीसार आइपुग्थ्यो ।’ दुई वर्षदेखिको यो माकुना दैनिकी अहिले भने रोकिएको छ । शोभाकली गर्भवती भएको थाहा पाएर माकुना हात्तीसार आउन छाडेको छ । ‘गर्भवती भएपछि संसर्ग नगर्ने भएकाले माकुना यता नआएको हो,’ माउते भन्छन् । आउने भदौमा माकुना–शोभाकलीको अर्को सन्तान जन्मँदै छ ।


हात्तीमा विद्यावारिधि गर्दै गरेका पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार हात्तीबीचमा पनि प्रेम ‘स्वत:स्फूर्त र सबैले थाहा पाउने गरी’ हुने गर्छ । उनका अनुसार जुन ढोईसँग उसको संसर्ग र गर्भ रहेको हुन्छ, उक्त ढोईले बच्चा जन्माएपछि मत्ता हात्ती जन्मेको बच्चा हेर्न जान्छ । ‘त्यो आफ्नो बच्चा हो कि होइन भन्ने चिनिहाल्छ । आफ्नै हो भने उसले त्यो बच्चालाई पनि प्रेमपूर्ण व्यवहार दर्साइहाल्छ,’ अशोकराम भन्छन् ।


रामका अनुसार मत्ताले ढोईलाई होइन, ढोईले चाहिँ मत्ता हात्तीलाई मन पराएपछि मात्रै ‘संसर्ग’ सम्भव हुन्छ । ढोईले पनि मत्ता कत्तिको जवान छ, यसबाट जन्मने सन्तान कत्तिको बलियो हुन्छ भन्ने निक्र्योल गरेरै मात्रै संसर्ग चाहन्छ । योभन्दा महत्त्वपूर्ण कुरा, त्यो मत्ताले आफूलाई कत्तिको यौन सन्तुष्टि दिन सक्छ भन्ने आँकलन गरेर मात्रै ढोई (पोथी) मत्ता
(भाले) तिर तानिएकी हुन्छे ।


आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले आरक्षका ५ ढोईमध्ये चारवटा गर्भवती भएको जानकारी दिए । यस पटक आरक्षमा चारवटा छावा थपिने भएपछि उनी निकै खुसी देखिन्थे । संरक्षण क्षेत्रमा लाग्नेलाई मात्रै होइन, यो आम सर्वसाधारणलाई पनि खुसीको कुरा हो । किनकि पृथ्वीमा रहेको सबैभन्दा ठूलो जनावर हात्ती अनेक खतराबीच बाँचिरहेको प्राणी हो ।


आरक्षमा रहेका ५ ढोईमध्ये अहिले शोभाकली, दमदमीकली, सरस्वतीकली र लक्ष्मीकली गर्भवती छन् । गर्भवती भएको २२ महिनामा हात्तीले छावा जन्माउने गर्छ । आरक्ष कार्यालयले यी गर्भवतीका लागि विशेष खानपान र आरामको प्रबन्ध गरेको छ । चरनका लागि लगिए पनि उनीहरूलाई धेरै हिँडाएर टाढासम्म लगिँदैन । घाँस–दाउरा पनि उनीहरूलाई बोकाइँदैन ।
हात्तीसारका दरोगा सुनील तामाङ अरू बेलाभन्दा बढी स्याहारसुसार अहिले गर्भवती हात्तीलाई गरिरहेका छन् । यो बेला बिहान १५ केजी धान, १ किलो सख्खर र २५ ग्राम नुन खुवाएपछि हात्तीको दैनिकी सुरु हुन्छ । दिउसोको चरनपछि बेलुका हात्तीसारमा घाँस दिइन्छ । एउटा वयस्क हात्तीले २ सयदेखि २ सय ५० किलोसम्म घाँसपात र अन्न खान सक्छ ।


हात्तीसारमा ढोई हात्ती मात्रै भएपछि जंगली हात्तीले दिने दु:खको कुरो पनि उत्तिकै छ । यही भएर आरक्ष प्रशासन र राष्ट्रिय प्रकृति संरक्षण कोष मिलेर जंगली हात्ती माकुना दाह्रेको घाँटीमा रेडियो कलर बाँधिएको छ । हात्तीको अवस्थाबारेमा ‘अपडेट’ लिइराख्न यसो गरिएको हो । दरोगाका अनुसार २०७३ मंसिर शोभाकली, दमदमीकली २०७३ चैतमा, सरस्वतीकली २०७४ कात्तिक, लक्ष्मीकली २०७४ मंसिरमा गर्भवती भएका हुन् । कोसीटप्पु आरक्षका पृथ्वीकली, बराहगज, कुशप्रसादगज, पार्वतीकली र तीर्थकली हात्ती भने चितवन राष्ट्रिय निकुञ्जमा ‘काज’ मा गएका छन् ।

कोसेली

सर्वोच्च शिखर ‘ट्रान्जिट’

पर्यटन
- कुम्भराज राई

त्यो तामाकोसी त्यो सुनकोसी
त्यो गिरि फोरी बहने रोसी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हरदम पवित्र
मेरो प्यारो ओखलढुंगा
ओखलढुंगामा जन्मिए पनि बाल्यकालमै काठमाडौं फर्किएका युगकवि सिद्धिचरण श्रेष्ठको ‘ओखलढुंगा’ कविताको अंश हो यो । त्यतिखेर पैदल हिँडेर राजधानी आवतजावत गर्नुपर्ने भएकाले रामेछापमा पर्ने तामाकोसी र काभ्रेमा पर्ने रोसीलाई समेत युगकविले कवितामा जोडे । ‘तामाकोसी र रोसी ओखलढुंगासँग जोडिएकै छैन’ भन्दै कविताको यो अंशको कतिपयले आलोचना गर्छन् । तर, ती कविताको साइनो सम्बन्ध फेरि जोडिएको छ । कवितामा युगकविले स्मरण गरेका ठाउँहरू विश्वको सर्वोच्च शिखर सगरमाथा जाने राजमार्ग बनेको छ । त्यसमाथि मुख्य ‘ट्रान्जिट’ बनेको छ, ओखलढुंगा ।


मध्यपहाडी राजमार्गमा पर्ने घुर्मी–खुर्कोट सडक खुलेपछि बीपी राजमार्ग हुँदै बनेपा भएर राजधानी जोडिएको छ । ओखलढुंगा सदरमुकाम र कोटेश्वरको दूरी २ सय २० किलोमिटरमा सीमित भएपछि सोलुखुम्बु जाने आउने मूलबाटो यही बनेको छ । पहिले दोलखाको जिरी हुँदै रामेछापको बाम्ती भण्डार भएर सगरमाथाको फेदी (बेसक्याम्प) जाने पर्यटकहरू अहिले सिधै गाडीबाट सल्लेरी पुग्ने गर्छन् । काठमाडौंदेखि करिब २ सय ८० किलोमिटर दूरीमा सोलुखुम्बु सदरमुकाम सल्लेरी पुग्न सकिन्छ ।


लुक्लामा सधैंजसो बिग्रिरहने मौसमले उडानको भर हुन्न । त्यसैले मुख्य विकल्प अब बनेपा–खुर्कोट–घुर्मी–ओखलढुंगा–सल्लेरी बनेको छ । सोलुखुम्बु प्रवेशद्वारकै रूपमा भएकाले ओखलढुंगा ट्रान्जिट प्वाइन्ट बनेको छ । जसले गर्दा जिल्लाभित्र पर्यटकीय पूर्वाधारहरू निर्माण गर्न सके ट्रान्जिट हुनुको प्रशस्त फाइदा उठाउन सकिन्छ । पर्यटनको दृष्टिले ओखलढुंगाका प्रमुख स्थानहरू हुन्, पोकली झरना, लिब्जु, ककनी मन्दिर, देम्बाडाँडा, सिद्धिचरण स्रष्टा पार्क, रुम्जाटार आदि ।


रामेछापको मन्थली हुँदै लिखु तरेर १ सय ३० मिटर अग्लो पोकली झरनाबाट खिजीचण्डेश्वरी हुँदै देम्बाडाँडा भएर पत्तालेसम्मको पर्यटकीय पदमार्ग साविकमा सञ्चालन भइरहेको छ । पोकली झरनामा क्यानोनिङको सफल अभ्याससमेत भइसकेको छ । पोकली–खिजी–देम्बा–पिके–पत्ताले पर्यटकीय पदमार्गलाई अझै व्यावसायिक विकास गर्न सकिन्छ । धार्मिकस्थलकै रूपमा सुनकोसी र चम्पादेवी गाउँपालिकाको बीचमा पर्ने ककनी मन्दिर, मानेभन्ज्याङ गाउँपालिकाको लिब्जु प्रमुख रूपमा छन् । सदरमुकाममा रहेको सिद्धिचरणको जन्मस्थल र स्रष्टा पार्क, सहिद पार्क थामडाँडा, लगलगे डाँडा, गुरुङहरूको ऐतिहासिक बस्ती रुम्जाटार पर्यटनको प्रचुर सम्भावना बोकेका ठाउँ हुन् ।


खोटाङको हलेसी–रुम्जाटार–सोलुखुम्बुको पत्ताले जोड्ने केवलकारको योजना पूरा गर्न सके ओखलढुंगालाई विश्वको शिखरसँग जोड्ने ट्रान्जिट सावित गर्न सकिन्छ । रुम्जाटारमा पूर्वकै ठूलो गुम्बा निर्माणाधीन छ । यसले झनै सहयोग पुग्नेछ । सगरमाथा हेर्ने सबैभन्दा छोटो गन्तव्यको रूपमा विकास भइरहेको सोलुखुम्बु दुधकुण्ड नगरपालिका र सिद्धिचरण नगरपालिकाको सिमानामा रहेको पत्तालेको कारण ओखलढुंगा ट्रान्जिट बन्नमा सहयोग पुगेको छ ।


भौगोलिक रूपले ओखलढुंगा आफैंमा सुन्दर छ । तर, विश्वको शिखर जाने पर्यटकहरूलाई आकर्षित गर्ने आधारहरू तयार भइसकेका छैनन् । त्यसका लागि केही पूर्वाधार विकास गर्नुपर्ने हुन्छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीनै तहको समन्वय जरुरी छ । गुराँस फुल्ने वनजंगल, जडीबुटी, जंगली जनावर, चराचुरुंगी संरक्षण गर्न सके थप टेवा पुग्न सक्छ । पर्यटन व्यवसायसँग सम्बन्धित कम्पनीहरूले समेत ओखलढुंगाका पर्यटकीय गन्तव्यका रुटहरूको अध्ययन गर्न जरुरी छ ।


काभ्रेको रोसीखोला, तामाकोसी, सुनकोसीको किनारैकिनार हुँदै विश्वको ध्यान तान्ने सर्वोच्च शिखर सगरमाथा जाने पर्यटकहरूलाई ‘ट्रान्जिट प्वाइन्ट’ को रूपमा भुलाउने ठाउँहरू प्रशस्त छन् । बर्सेनि हजारौंको संख्यामा विदेशी पर्यटकहरू ओखलढुंगा हुँदै सगरमाथा आउजाउ गरिरहेका छन् । पर्यटनको दृष्टिले ओखलढुंगा आफ्नै नाभिमा भएको सुगन्ध पत्ता लगाउन नसकेर दौडिरहेको कस्तूरीझैं बनेको छ ।

कोसेली

उही सरिता मिस

उद्यम
हरेक घरबाट एकाबिहानै फालिने दूधको खोल र प्लास्टिकजन्य अरू कच्चा पदार्थ बटुलेर काठमाडौंकी सरिता बज्राचार्यले देखाएको लघु–उद्यमको तरक्की टीठलाग्दो छ, उदाहरणीय पनि ।
- कान्तिपुर संवाददाता

राजधानी फोहोरले आक्रान्त छ अहिले । यहाँको फोहोर व्यवस्थापनको समस्या धेरै पुरानो हो । यस्तै व्यवस्थापन समस्या झेलिरहेको काठमाडौं–१८ मा फोहोरलाई तह लगाउने सत्पात्र बनेकी छन्— सरिता मिस अर्थात् सरिता बज्राचार्य ।


दूधको खोल र अन्य प्लास्टिकजन्य सामग्रीबाट धागो कात्ने अथवा फालिएका टुक्रा कपडाको खेलौना बनाउने । कौशी खेतीमा चाहिने कम्पोस्ट मल उत्पादन गर्ने अथवा आलु चिप्स, दालमोठ, अचार आदि बनाउने काममा सरिता मिस पोख्त छिन् । उनी भन्छिन्, ‘जाँगर हुनेहरूका लागि घरैमा बसीबसी राम्रो आम्दानी हुने सीप हो यो ।’


यो साता भर्खर दैलेखबाट फर्केकी छन् सरिता मिस । कर्णालीको एक घरेलु उद्योगलाई तालिम दिएर फर्केकी हुन् उनी । दैलेख जानुअघि आलुचिप्स र दालमोठ बनाउने तालिम साँखुमा दिएकी थिइन् । झन्डै दैनिकी बनेको यसरी तालिम दिने कुरा । ‘काठमाडौंका विभिन्न वडा र देशभरका अनेक जिल्लामा गरेर हजारभन्दा बढी नै पटक तालिम दिइयो होला,’ उनी भन्छिन् ।


सरिता मिसबाट नाम्चेकी पेम्बा लामाले १५ दिने तालिम लिएकी थिइन्— काठमाडौं आएर । उनै पेम्बा अहिले नाम्चे गाउँमा प्रशिक्षक छिन् । यसरी सीप बाँड्दा निकै आनन्द लागेको सरिता बताउँछिन् । हाँस्दै भन्छिन्, ‘ज्ञान जति बाँड्यो त्यति नै बढ्ने त हो नि ।’


सरिता मिस फाल्नुपर्ने कुनै पनि सामग्री पुनप्र्रयोगमा आउन सक्ने बताउँछिन् । प्लास्टिक, कागज, कपडा, तरकारीका बोक्रा आदि सदैव उपयोगी हुन्छ नै । नकुहिने चीजबाट अनेक सामान बन्छ, कुहिनेबाट मल । एकातर्फ आम्दानी र स्वरोजगारी, अर्कातर्फ वातावरण सफाइ । वातावरण प्रदूषण कम गर्न उनले पुर्‍याएको योगदानको कदर गर्दै सरिताले सन् २०१५ मा ‘पोजेटिभ प्लानेट अवार्ड’ समेत पाएकी थिइन् । एक छोरा–एक छोरीकी आमा सरिताले औपचारिक तहमा आइसम्म पढेकी छिन् ।


होचो कद र हँसिलो मुहारमा वाकपटुताको गुणले सरिता मिस चिनिएकी छन् । हरेक कुरामा उदाहरण जोडेर उनी बोल्छिन् । उनले जापान, अस्ट्रेलिया, अमेरिका, जर्मनी, कोरिया, फिलिपिन्स, बेलायत आदि देशबाट आएका प्रशिक्षार्थीलाई समेत उनले तालिम दिएकी छन् । तर, दु:खको कुरा भने एउटै छ । तालिमबाट बनेका सामग्री किन्न र आफ्नो देशमा लैजान भने विदेशीहरू पनि चाहँदैनन् । किन त ? ‘यो वातावरण मैत्री भएन भन्छन् उनीहरू,’ सरिता मिसले सुनाइन् ।


२०४४ सालमा भोटाहिटीमा रहेको गीता सिलाइ प्रशिक्षण केन्द्रबाट सिलाइबुनाइ तालिम लिएकी थिइन् सरिताले । आफ्नो सीपलाई परिष्कृत गर्दै ०४७ सालदेखि उनले नेहा प्रशिक्षण केन्द्र खोलेकी हुन् । प्रशिक्षणमा व्यस्त रहेकै बेला दोबाटोमा फयाँकिएको प्लास्टिक र अन्य फोहोर देखेर निकै रिस उठ्थ्यो सरितालाई । त्यही बीचमा कन्या मन्दिर स्कुलमा प्लास्टिक पुनप्र्रयोग प्रशिक्षणको आठदिने कार्यक्रम सञ्चालन हुने सुनिन् उनले । प्रशिक्षक दिलशोभा तुलाधर दिदी उनकै टोले थिइन् । यो २०६० सालतिरको कुरा हो । यसअघि स्विटर बुन्न सिपालु भइसकेकी सरिता दूधका खाली खोलबाट धागो कात्न र आवश्यक सामान सिउने/बुन्ने सीपमा समेत पारंगत भइन् ।


दूधको प्लास्टिक खोल पहिले काट्ने, पखाल्ने, सुकाउने अनि एक–एक इन्च लम्बाइ मिलाएर मिहिन रूपमा काट्ने । प्लास्टिक रेसा तान्ने, गाँठो बनाउने अनि उनको डल्लोजस्तो पार्ने । यी प्रक्रिया जानिसकेपछि क्रुसका भरमा आवश्यक सामान बुन्ने, सिलाउने । छिटो हात चलाउन सक्नेले एक–डेढ घण्टामै एउटा टि–म्याट बनाउन सक्छन् । एउटा टि–म्याट बनाउन १५–२० वटा दूधका प्लास्टिक जरुरी हुन्छ । एउटा दूधको प्लास्टिकबाट एउटा आकर्षक कि–रिङ पनि बन्न सक्छ । दूध प्लास्टिक, प्लास्टिक झोला, पाउरोटी, बिस्कुट, चाउचाउ वा चकलेटका खोल जे भए पनि हुन्छ कच्चा पदार्थ । यसबाट बन्न सक्छ— टेबल म्याट, कि–रिङ, साइडब्याग, हयान्डब्याग, पर्स, बडीवास, बास्केट, साबुन राख्ने थैली, ढकी आदि । यो सिकाइ बिस्तारै फराकिलो हुँदै गयो । कौशी खेती र मल बनाउने तालिम, अचार बनाउने सीप हुँदै आलुचिप्स र दालमोठ बनाउनेसम्म सीप सिकिन् सरिताले ।


कसले किन्छ त यो उत्पादन ? ‘उत्पादन मात्रै होस् न, बजारको कमी छैन यहाँ,’ भन्छिन् सरिता । थुप्रै प्रशिक्षार्थीको उत्पादन सरिता आफैं पनि खरिद गर्छिन् । उनी भन्छिन्, ‘यो कामलाई घरेलु उद्योगका रूपमा मात्रै हेरिनु हुन्न । यो उपत्यकालाई सफा राख्न नागरिकस्तरबाट गर्न सकिने अभियानसमेत हो ।’
–शिशिर वैद्य

Page 22
कोसेली

समालोचनाको गुटबन्दी

टिप्पणी
विमोचन समारोहमा बोल्ने वक्ताहरू पहिल्यै ‘रेडिमेड’ भइसकेका हुन्छन्– बोल्ने सीमा र प्रपञ्चबारे । अझ कृतिकार बाहनवाला छ भने घरबाट विमोचनस्थल र विमोचनस्थलबाट घरसम्म बाहनसुविधा प्रदान गरिन्छ । अचेल तारेहोटलमा विमोचन समारोह सम्पन्न हुनु कुनै नौलो कुरा होइन ।
- डा.रामदयाल राकेश

नेपाली समीक्षा गुटबन्दी र दलबन्दीमा फँसेको छ । आफ्नो गुटको लेखक छ भने उसको आँखा चिम्लेर प्रशंसा गरिन्छ । आफ्नो दलको दौंतरी लेखक छ भने उसको दोषलाई देखाउने गरिंदैन । समालोचना र समीक्षा होइन, यहाँ ‘परिचय’ हावी भएको छ ।


आलोचना अब रचनालाई विश्लेषित गर्नुको सट्टा चम्चा र धेरैजसो मात्रामा घटिया साहित्य निर्मित गर्ने माध्यम बनिरहेको छ । हिन्दीका सबैभन्दा ठूलो आलोचक सबैभन्दा ठूलो जोकर बनिसकेको छ । असली कुरो के छ भने यदि तपाईंको विषयवस्तुमा दम छ भने यी तथाकथित नामूदहरूको चुप्पीको बाबजुद आफ्नो ठाउँ बनाइहाल्छ नत्र जति पनि प्रारम्भिक हाइप बनाए पनि व्यर्थ सावित भइहाल्नेछ ।’ (कृति : तहलका , लेखक : अनिल यादव)


नेपाली साहित्यको समालोचनाको पनि यस्तै हालत छ । अचेल समालोचना लेखिन्न, प्रशस्तिगान लेखिन्छ कि गालीगान । पुस्तकको आवरण पृष्ठ हेरेर र अन्तिम पृष्ठमा लिखित लेखकका बारेमा केही लेखकीय मत पढेर समालोचना लेखिन्छ । वास्तवमा यो पुस्तक परिचय हो तर यस्ता पुस्तक परिचय लेख्नेले आफूलाई सबैभन्दा ठूलो समीक्षक भन्ने गर्दछ । मेरो त समीक्षा क्षेत्रमा कोही प्रतिद्वन्दी नै छैन भनेर अन्तर्वार्ता दिने गर्दछ । आफ्नो अहंकार र अहंको अभिव्यक्ति गरेर आत्मसन्तुष्ट हुने गर्दछ । विडम्बना त के छ भने यस्ता स्वयंघोषित समीक्षकको अन्तर्वार्ता पनि विशेष बेलबुट्टा लगाएर छापिन्छ । वास्तवमा यस्ता समीक्षकले समीक्षाशास्त्रको अध्ययन नगरीकन समीक्षा गरिरहेका हुन्छन् । आफ्नो मनको कुण्ठा र ग्रन्थिको गाँठोलाई फुकाल्ने गर्दछ ।


वर्तमान नेपाली समीक्षा रक्सी, रसरंग र रुपैयाँ पैसामा सीमित हुँदै गएको छ । बेलुका जति रक्सीको ताप चढ्छ, भोलिपल्ट त्यति नै समीक्षाको तापक्रमलाई तरंगित गर्ने गरिन्छ । धेरैजसो समीक्षकले जे लेखेर दिन्छन्, साज सज्जासँग त्यही छापिन्छ । जे लेखे पनि सदर हुन्छ ।


जे जसो औपचारिक लेखन पूरा गर्नुपर्ने बाध्यता हुन्छ नै । कुनै ठूलो पदाधिकारी लेखक छ भने उसको कृतिको कमीकमजोरी र त्रुटिलाई ‘नजरअन्दाज’ गर्ने गरिन्छ । यदि कुनै स्तरीय लेखक छ भने उसलाई तल्लो स्तरमा झारेर उसको मनोबललाई कमजोर तुल्याउने गरिन्छ । यसरी समीक्षा लेखन सस्तो भइराखेको छ नेपाली साहित्यमा ।


वास्तवमा पुस्तक परिचय लेख्नेलाई थाहा छैन कि समीक्षा कति किसिमको हुन्छ । समीक्षाको नाममा पुस्तक परिचय लेखनलाई ‘टेक्स्ट्युवल क्रिटिसिजम’ भनिन्छ । यसमा पुस्तकमा मात्र केन्द्रित भएर समीक्षा लेख्ने गरिन्छ । यसबाहेक पुस्तकबारेमा मात्र होइन, लेखकको बारेमा पनि लेख्ने गरिन्छ जसलाई ‘क्रिटिकल एप्रिसिएसन’ भनिन्छ । यसमा लेखक र उसको कृति बारेमा टीकाटिप्पणी, आलोचना–प्रत्यालोचना गर्ने गरिन्छ । कुनै पनि कृतिमा गुणैगुण हुँदैन अथवा दोषैदोष मात्रै हुँदैन । समीक्षकको मुख्य उद्देश्य हो— गुण र दोष औंल्याउनु अर्थात् नीरक्षीर(पानी–दूध)लाई विवेकपूर्ण ढंगबाट छुट्याउनु । तर, अहिलेको नेपाली समीक्षामा प्रशंसै प्रशंसाको पुल बाँधिन्छ कि गाली नै गालीको गन्धा पोखरी खनिन्छ ।


नेपाली समीक्षा गुटबन्दी र दलबन्दीमा फँसेको छ । आफ्नो गुटको लेखक छ भने उसको प्रशंसा आँखा चिम्लेर गरिन्छ । आफ्नो दलको दौंतरी लेखक छ भने उसको दोषलाई दोखाउने गरिंदैन । यसरी निष्पक्ष समीक्षाको नेपाली साहित्यमा खडेरी पर्न थालेको छ । कुनै ठूलो पदाधिकारी प्राज्ञिक क्षेत्रको छ भने उसको नाम पटकपटक र प्रसंगवश हो कि होइन आफ्नो स्तम्भमा पुनारावृत्ति गरेपछि विदेशको सयर गर्ने सुअवसर प्रदान गर्ने गरिन्छ । यस्तै कुनै पुरस्कारको प्रलोभन मात्रै होइन, प्राप्ति पनि हुने गर्दछ । सर्त एउटै छ— उसको नाम वारवार उल्लेख गरेर आफ्नो स्तम्भलाई कथित ‘स्तरीय’ तर ‘सस्तो’ बनाउनु ।


नेपाली साहित्यको हरेक विधामा अभूतपूर्व प्रगति भइराखेको कुरोलाई सहजै स्वीकार गर्न सकिन्छ । हरेक विधामा केही न केही रचना प्रतिदिन प्रकाशित भइराखेको छ । यो निश्चयै राम्रो संकेत हो तर विमोचनको विकृति पनि उत्ति नै विकराल हुँदै गएको छ । कुनै पनि कृतिको विमोचन समारोहमा विरोधको स्वर सुनिंदैन । के प्रत्येक दिन विमोचित हुने प्रत्येक कृति कालजयी कृति हुन् त ? कदापि पनि होइनन् तर विमोचन समारोहमा बोल्ने वक्ताहरू पहिल्यै ‘रेडिमेड’ भइसकेका हुन्छन्— बोल्ने सीमा र प्रपञ्चबारे । अझ कृतिकार बाहनवाला छ भने घरबाट विमोचनस्थल र विमोचनस्थलबाट घरसम्म बाहनसुविधा प्रदान गरिन्छ । अचेल तारेहोटलमा विमोचन समारोह सम्पन्न हुनु कुनै नौलो कुरा होइन । यहाँ भोजभतेर नहुने कुनै असम्भव कुरो होइन । कहिलेकाहीं यसमा संक्षेपीकरण पनि हुने गर्दछ । साधारण समारोहपछि लेखक, समीक्षक र मन परेका साथीभाइको साथमा विशेष रमाइलो गर्ने गरिन्छ ।
प्रत्यक्ष राजनीतिभन्दा साहित्यको क्षेत्रमा कम राजनीति हुने होइन । राजनीतिबाट सबै क्षेत्र प्रभावित हुनु स्वाभाविक हो तर साहित्य क्षेत्र झन् बढी प्रभावित भइराखेको छ । प्राज्ञिक क्षेत्रमा राजनीतिको प्रभाव प्रगाढ रूपमा प्रतिलक्षित हुने गर्छ । सिर्फ साहित्य पढेर समीक्षा लेख्न सकिन्न आजकल । यस सहस्राब्दीमा समीक्षकले सबै थोकको अध्ययन गर्नुपर्छ ।
नेपाल र नेपाली साहित्यको सन्दर्भमा नामूद (सक्षम) समीक्षकहरूले समीक्षा लेख्न छाडिसकेका छन् । जस्तो— तारानाथ शर्मा, केशवप्रसाद उपाध्याय, अभी सुवेदी, मोहनहिमांशु थापा, गोपीकृष्ण शर्मा आदि । वास्तवमा भन्ने हो भने सृजनशील साहित्यकार स्वत: स्वतन्त्र हुन्छन् । उनीहरूलाई ‘डिक्टेट’ गर्नु घातक हुन सक्छ । केही तथाकथित नामूद आलोचकहरू अहिले आफ्नो अनुकूल माहोल बनाउन र गुटबन्दी गर्नमा सक्रिय देखिन्छन् । यस्तो प्राज्ञिक धूमिल वातावरणले गर्दा साहित्यको समीक्षाशास्त्रमा पनि प्रदूषण व्याप्त हुँदै गएको छ तर यो प्रदूषण क्षणिक कालका लागि मात्र हो ।


सबै रचनात्मक कृतिहरूको समीक्षा उत्तरआधुनिकताको कसीमा गर्न सकिन्न । चेरिल ग्लोट फेल्टीले सन् १९८९ देखि ‘इकोक्रिटिसिज्म’ शब्दलाई समालोचनाको क्षेत्रमा प्रयोग गर्न थालेका छन् । यो पर्यावरणीय समीक्षा सिद्धान्त सन् १९९० को दशकदेखि विश्वव्यापी मान्यता एवं विस्तार पाउन थालेको छ । तसर्थ उत्तरआधुनिकताको अवमूल्यन दिनानुदिन अनुभव हुन थालेको छ । आञ्चलिकता पनि उत्तरआधुनिकताको एउटा नयाँ आयाम हो । आञ्चलिक कृतिहरू पनि अचेल निकै लेखिने गरिएको छ र यो सर्वथा स्वागतयोग्य कुरा हो । आञ्चलिक रंगमा रंगिएका कृतिहरूको कालजयी महत्त्व हुने गर्छ ।


नेपाली समालोचनाको सबैभन्दा दुर्बल र दयनीय पक्ष हो— कृतिको सम्यक् समालोचना नगरी कृतिकारलाई रिझाउने काम गर्नु । कृतिकारलाई पनि आफ्नो दुर्वल पक्ष थाहा हुँदैन, जबसम्म समीक्षकले त्यो आंैल्याउँदैन । सृजनशील साहित्यकारलाई क्षणिक आत्मसन्तुष्टि दिने खालको समीक्षा मन पर्छ तर त्यो चिरस्थायी हुँदैन ।

कोसेली

अर्थपरक यात्रा

- कान्तिपुर संवाददाता

आफूले देखेको नयाँ कुरा र भोगाइलाई आफूसँगै राख्ने धेरै हुन्छन् । तर, जसले ती अनुभव पुस्तकाकार रूपमा बाहिर ल्याउँछन्, उनीहरू मूल्यांकन र तुलनाको तुलोमा चढिहाल्छन् । अहिले नियात्राकार गीता रेग्मी पनि यस्तै अनुभूतिको तुलना लिएर बजारमा आएकी छन्, ‘पत्थरै पत्थर’ संग्रहमार्फत । यसअघि ‘परिचय’ कथासङ्ग्रह र ‘पुस्तान्तर’ संयुक्त कथासंग्रह ल्याएकी रेग्मीका कविता तथा नियात्रासंग्रह (पश्चिमाहरूको देशमा) पनि प्रकाशित भइसकेका छन् । पछिल्लो नियात्रा ‘पत्थरै पत्थर’ भने शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।


बर्मा, थाइल्यान्ड र मलेसिया घुम्दाका रोचक अनुभूतिहरू ‘पत्थरै पत्थर’ मा छन् । मगनमस्त भएर आफू घुम्नु र आफूसँगै पाठकलाई पनि घुमाउन सक्नु एउटा सफल नियात्राको विशेषता हो । नियात्राकार रेग्मीले २०७० सालताका भ्रमण गरेका मुलुकमध्ये बर्मा सेरोफेरोका १६ र अरू ८ वटा यात्रा अनुभूति थाइल्यान्ड–मलेसिया सम्बद्ध छन् ।


रेग्मीको यात्रा सन्दर्भ पनि उत्तिकै रमाइलो छ । काठमाडौँ बस्ने कलावती दिदी आफ्ना माइती भेट्न बर्मा जान लागेको अवसरमा नियात्राकार रेग्मी पनि सहयात्री बनेर गएकी थिइन् । पुस्तौंपुस्तादेखि बर्मामा नेपालीको बसोबास रहेको पाइन्छ । बर्मावासीले लगाएको लुंगी र टिसर्ट पहिरनले नियात्राकारलाई सधैंजसो अनौठा लागिरहेकै हुन्छ । अझ बाटोमा हिँडेका विद्यार्थी, लुंगीमै फुटबल खेलिरहेका खेलाडी र ट्राफिक प्रहरीसमेत लुंगीमै भेटिँदा उनलाई अचम्मै लाग्छ । अनुहार सुन्दर बनाउन भनेर बर्मेली महिलाले खरानी घसेजसरी अनुहारमा दल्ने सेतो लेपन पनि अचम्मलाग्दो देखिन्छ । बर्मेली घर, चोक र समग्र समाजका बारे पनि उनको कृतिले धेरै कुरा बोलेको छ । अधिकांश बौद्ध धर्मावलम्बी बस्ने बर्मामा देखिएका बौद्ध स्तूपाहरू देखेर पनि नियात्राकारको मन उद्वेलित हुन्छ । नोबेल पुरस्कार विजेता आङ सान सुकीको देशमा पाइला टेक्न पाउँदा पनि लेखकलाई गर्व अनुभूति हुन्छ । त्यही खुसीमा उनी सुकीको कार्यालय हेर्नैका लागि भए पनि पुग्छिन् । बर्मामा पनि हिंसा भड्किरहने थलो मोगोक जानका लागि लेखकले गरेको सङ्घर्ष पुस्तकमा झल्किन्छ । विभिन्न खाले गहनामा प्रयोग हुने पत्थरको व्यापार गर्ने र हरदम व्यस्त रहने बर्मेली मन–वचनका सुकोमल पाएकी छन् उनले ।


पुस्तकमा बर्माको तुलनामा थाइल्यान्ड र मलेसियाको यात्रा–वर्णन निकै कम देखिन्छ । सुनेको थाइल्यान्ड र देखेको थाइल्यान्डमा निकै भिन्नता रहेको भन्दै उनले अनुभवलाई आत्मपरक भावमा लेखेकी छन् ।


मलेसिया भ्रमणको इतिवृत्ति ‘मान्छेको बिस्कुन’ शीर्षक नियात्रामा बढी आएको छ । समय गणनामा अत्यन्त छोटो यात्रा क्रममा लेखकले क्वालालम्पुरस्थित नेपाली दूतावासमा देखिएका नेपाली श्रमिक युवाहरूको बयान गरेकी छन् ।


नयाँ ठाउँ घुम्न पाइने लोभमा सँगै हिँडिरहेका साथीभाइलाई फकाउँदै–फुल्याउँदै विभिन्न ठाउँ घुम्न लैजाने लेखक अक्कल गजबकै छ । नयाँ ठाउँ घुम्दा त्यहाँको जीवनशैली, रहनसहन र संस्कृति अध्ययन हुनु स्वाभाविक हो । तर, त्यसलाई कसरी आत्मसात् गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । नियात्रा पुस्तकमा अनावश्यक रूपमा केही पारिवारिक गन्थनहरू पनि समेटिएको छ । भाषिक अशुद्धि पनि उत्तिकै देखिन्छ ।
—प्रभा बराल

कोसेली

कुन्ताको मान्छे

पुस्तक प्राप्ति
- कान्तिपुर संवाददाता

संवत् ४० को दशकमा एउटा कविताले तरंग ल्याएको थियो, ‘पोथी बास्नु हुँदैन’ । नारी विद्रोह र चेतनाको बिगुल फुक्ने यही कविताका कारण कुन्ता शर्मा उनको थातथलो धरानबाट टाढा–टाढासम्म चिनिएकी थिइन् । खासमा राजनीतिक चेतना र प्रगतिशील गतिविधिमा जोडिएकै कारण उनी कवितामा विद्रोह लेख्थिन् । वामपन्थी राजनीतिका आडमा सांसदसम्म बनेकी कुन्ता आफ्नै पारिवारिक असमन्जस र संघर्षका कारण लामो समय लेखनबाट थन्किएर बसेकी थिइन् । उनको २०५२ सालमा प्रकाशित कवितासंग्रह ‘म उभिएको ठाउँ’ पछि अहिले बजारमा आएको छ— मेरो मान्छे ।


सांग्रिला बुक्सबाट आएको कवितासंग्रह ‘मेरो मान्छे’ मा झन्डै ५ दर्जन कविता छन् जसमा केही (शीर्षकसहित) केही भने लामा कविता छन् । समीक्षक पुरुषोत्तम सुवेदीले कवि कुन्तालाई ‘जीवन र लेखन दुवैमा अत्यन्त संवेदनशील, जुझारु र सृजनशील’ भनेका छन् । कृतिमा डा. दुर्गाप्रसाद भण्डारीको प्राज्ञिक टिप्पणी पनि समेटिएको छ तर लगातार ४ वर्षयता अल्जाइमरलगायतको रोगले थलिएका विद्वान् भण्डारीले कहिले र कुन सन्दर्भमा कुन्ताबारे लेखेका थिए, यो स्पष्ट नपारेर पाठक झुक्याउने काम भएको छ । ७१ वर्षीया कवि कुन्ताले ‘जीवनका सारा घटना, संवेदना, खिन्नता र प्रसन्नताहरू कविता बनेका छन्’ भनेर उद्घोष गर्नु नै ‘मेरो मान्छे’ को निचोड हो । कविता कृतिको भूमिकामा लामो गन्थन आवश्यक थिएन ।
नेपाल–भारत दुवैतर्फ प्रकाशनगृह थालेको सांग्रिला बुक्सले यही दोहोरो बजार आधारमा २५० पृष्ठको काव्यकृति ‘मेरो मान्छे’ को नेपाली मूल्य २ सय ९५ र भारु २ सय २५ राखेको छ ।

कोसेली

ग्वंगको रङ्ग संसार

पुस्तक प्राप्ति
- कान्तिपुर संवाददाता

कला, संस्कृति, सभ्यतामाथि कलम चलाइरहने ८२ वर्षीय लेखक तेजेश्वरबाबु ग्वंगको लेखन सक्रियता टीठलाग्दो छ । उनी अझै पनि दैनिक पत्रपत्रिका, साहित्यिक पत्रपत्रिका आदिमा नियमितजसो लेखिरहन्छन् । अरूभन्दा पनि कला–संस्कृतिमा ग्वंगको अभिरुचि विशेष छ, सतही ज्ञानभन्दा पनि कला–संस्कृतिको सैद्धान्तिक र प्राज्ञिक दृष्टिकोण उनी लेखनमा ल्याउन सक्छन् । यही क्रममा हालै साझा प्रकाशनबाट आएको छ— रङ्ग अभिज्ञान ।


यो निबन्धसंग्रहमा आएको शब्द ‘रङ्ग’ को शाब्दिक अर्थ अंग्रेजीमा हुन्छ— कलर । तर यही एउटै शब्द रङ्गभित्रको अर्थगत विविधता र प्रायोगिक दायरा कति भिन्न हुन सक्छ भन्ने उदाहरण ‘रङ्ग अभियान’ भित्रका २० निबन्ध भएका छन् । कहींकतै कवितात्मक शैलीमा पनि निबन्धकारले रङ्गको बयान गरेका छन् । ‘रङ्गका पाइलाहरू’ निबन्धमा उनी बोल्छन्—‘रङ्गहरू पोखिन्छन् । घोप्टिन्छन् उस्तै रङ्गदानीहरू । मट्यौले जमिनमा सुक्छन् रङ्गहरू । छर्कियून् या घोप्टियून् रङ्गका पाइला जहींको तहींं गड्छन् ।’


ग्वंगले रङ्गका अवतार, रहस्य, रस, अभिज्ञान, विन्यास, भाका, राग, संस्कार, रूप आदिबारेमा निबन्ध कथेका छन् । कहींकतै भने स्वैरकल्पना हावी भएको देखिन्छ, कहींकतै भने कुनै निश्चित योजनामा बाँधिएर २० वटा निबन्ध लेखिसक्नैका लागि लेखिएझैं देखिन्छ । १०४ पृष्ठको संग्रहको मूल्य १ सय ९५ राखिएको छ ।

कोसेली

सरस–सरल कथाहरू

- कान्तिपुर संवाददाता

मध्यम र निम्न मध्यमवर्गीय परिवारले बेहोरेको दु:ख–कष्टको कथानक लिएर आएका छन्— योगेन्द्र तिमिल्सिना । २१ वटा लघु आकारका कथाको संग्रह ‘अनन्त आकाश’ लिएर आएका योगेन्द्र आजको पुस्ताका पाठकका लागि नयाँ नाम भए पनि यी स्रष्टा नयाँ भने होइनन् । उनको चार दशकअघि (२०३४) सालमै साझा प्रकाशनले ‘बैंशको निर्वासित सहर’ कथासंग्रह प्रकाशनमा ल्याइसकेको छ । त्यसअघि उनका ‘पुनर्मिलन’ (२०२४) र ‘फूल र काँडा’ (२०३२) उपन्यास प्रकाशित छन् ।


योगेन्द्रको पछिल्लो संग्रहमा पनि झन्डै तीन दशकयताका छरिएका कथा छन्, जीवन भोगाइको क्रममा कहिले प्रवास र कहिले देशभित्र बसेका कथाकारले कथामा यस्तै विविधताको चित्र भरेका छन् । कथाभित्र खारिएको भाषा र कथाशिल्प छ । कथाकार योगेन्द्रले आफ्नो साहित्यिक कर्मबारे ‘आफूलाई एउटा सिंगै पुस्ताले चिन्दैन’ भने पनि ‘अनन्त आकाश’ संग्रह परिचय नवीकरणको माध्यम बनेको छ । ओरिएन्टल पब्लिकेसन्सले प्रकाशन गरेको करिब १ सय पृष्ठको संग्रहको मूल्य १ सय ७५ रुपैयाँ छ ।

कोसेली

पौड्यालका मूच्र्छनाहरू

- कान्तिपुर संवाददाता

सिक्किमेली कवि रुद्र पौड्याल अलिक बढी अन्तर्मुखी स्वभावका लाग्छन् । उनका लेख, रचना, कथा र कविताहरू पनि सतहमा केही नदेखिने तर भित्री हुँकार भएका सृजनाझैं लाग्छन्— स्रष्टा स्वभावअनुसार । सिक्किम साहित्य परिषद्का अध्यक्ष रहेका पौड्यालको हालै प्रकाशित ‘स्मृतिका मूच्र्छनाहरू’ मा सिक्किममा प्रदर्शन भएका गीति नाटिकाहरूबारे बिहंगम चर्चा छ । साथै, पौड्यालका एक दर्जनभन्दा बढी गीतहरू पनि यहाँ राखिएको छ ।


विशेषत: अरू स्रष्टा–लेखकले लेखेका रचनालाई गीति नाटकको रूप दिनु अर्थात् आजको शब्दमा भन्ने हो भने ‘पटकथा लेखन’ गर्नु आफैंमा मुस्किलको काम हो । तर,
पौड्यालले महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘म्हेन्दो’, ‘कुञ्जिनी’ जस्ता रचनालाई गीती नाटकमा रूपान्तरित गरिदिए जसका लागि मञ्चन सुहाउँदो गीति गेडासमेत भरिदिए । यसबाहेक, चाण्डालिका, वासवदत्त, बिर्सिएको कथा, सोङमितको कथा आदि खण्डकाव्यलाई पनि पौड्यालले गीति नाटकका रूपमा ढालेका थिए । ‘टिस्टा बगिरहेछ’ (उपन्यास), कथा कल्प (कथासंग्रह), हराएको मान्छे (कथासंग्रह) जस्ता मौलिक कृतिहरू बजारमा ल्याएका पौड्यालको ‘स्मृतिका मूच्र्छनाहरू’ कृतिलाई संगीतकार शान्ति ठटालले ‘एउटा पाठकका निम्ति सरस र सहज’ भनेर सह्राएकी छन् । समीक्षक सानु लामाले पौड्यालको यो कृतिलाई ‘साहित्यका विचारशील पाठकका निम्ति रचिएको’ भनेर मूल्यांकन राखेका छन् ।


पौड्यालका अधिकांश गीतमा शान्ति ठटालले संगीत भरेकी छन् । तर, धेरैजसो नेपाली श्रोताले यी गीत–संगीतको स्वाद लिन पाएकै छैनन् । प्रताप सुब्बाको फिल्म ‘मसान’ मा समेत गीत लेखेका (रोप है गह्राको बाँझो जोतेर) पौड्याललाई ऐतिहासिक गीति नाटिकाका रचयिताका रूपमा चिनाएर जेनतेन बाहिर ल्याउन यत्न गरेको छ, गान्तोकको चेशव प्रकाशनले । महाकवि देवकोटाको ‘म्हेन्दो’ र ‘कुञ्जिनी’ सँग जोडिएका प्राचार्य रुद्र पौड्याललाई चिनाउने–बुझाउने माध्यम बनेको छ— स्मृतिका मूच्र्छनाहरू ।

Page 23
कोसेली

श्रम–शिविर आडैमा विश्वकप

कतार वल्र्डकप–२०२२
- होम कार्की
अलखोर स्टेडियम (निर्माणाधीन)

 खाडी मुलुक कतारमा सन् २०२२ मा हुन लागेको विश्वकपलाई लिएर वाहिरी विश्वले हरतरहले आलोचना गरिरहेकै भए पनि आफूले श्रम–पसिना पोखेको कतारी भूमिमा आँखैसामु फुटबलको रौनक हेर्न हजारौं नेपाली कामदार प्रतीक्षारत छन् । एक दिन, दुई दिन गर्दै अब प्रतीक्षाको घडी टुंगिनै लागेको छ ।


पोखराका सञ्जीव रानाभाटको बासस्थान (इज्दान भिल्ला) पारि अल–वक्रा स्टेडियम धमाधम बनिरहेको छ । यो स्टेडियमको दैनिकी उनले तीन वर्षयता नियमित हेरिरहेका छन् । बिहान ६ बजेदेखि नै स्टेडियममा कामदारको चहलपहल सुरु भइसक्छ । त्यो चहलपहल राति अबेरसम्म जारी रहन्छ । हेर्दाहेर्दै स्टेडियमले आकार ग्रहण गरिसक्यो । यतिखेर छाना छाउने काम सकिनै लागेको छ ।


‘यसको अन्तिम स्वरूप हेर्न अब धेरै दिन छैन,’ गत जनवरी अन्तिम साता दोहाको अल–वक्रामा भेटिएका सञ्जीव उत्साहित देखिन्थे, ‘अबको चार वर्षपछि आँगनमै विश्वकप हेर्न पाइने भयो, निकै प्रफुल्लित छु ।’


कतार प्रवेश गर्दा सञ्जीवले ‘कुनै दिन विश्वकप हेर्न पाइएला’ भन्ने कल्पना पनि गरेका थिएनन् । यो सन् २००४ तिरको कुरा हो । त्योबेला कतारको भौतिक अवस्था निकै कमजोर थियो, विकास गतिले लय पत्रँmदै थियो । आगोको भुङ्ग्रोजस्तो भू–धरातलमा फुटबल खेलिन्छ भन्ने लागकै थिएन । ‘मेरै अगाडि रंगशाला बन्ने क्रम रोकिएको छैन । विश्वास गर्न गाह्रो भइरहे पनि अब भने विश्वकप हुने निश्चितजस्तै भयो,’ उनले भने, ‘रसियामा पुगेर कतारी अमीर तमिमले वल्र्डकप–२०२२ को जिम्मा लिएर फर्किसके । अब घरआँगनको विश्वकप हेरेरै घर फिर्ने हो ।’

अलवक्रा स्टेडियम

अल–वक्रा कतारको सवैभन्दा परम्परागत र सानो सहर हो । यही सहरभित्र निर्माणाधीन अल–वक्रा स्टेडियमबाट हमाद अन्तर्राष्ट्रिय बिमानस्थलसम्मको दूरी झन्डै १५ किमि जति मात्रै छ । फेरि विमानस्थलको गेटबाटै स्टेडियमसम्म पुग्ने रेल दौडिने भएको छ । यो ट्रयाकमा परीक्षणका रूपमा रेल दौडिसकेको छ । ‘कतारी सर्वसाधारण रेल चढ्लान् वा नचढ्लान् । तर, यो हाम्रै लागि बन्दै गरेको हो भन्दा पनि हुन्छ,’ बक्रामै भेटिएका तनहुँका राकेश श्रेष्ठले भने, ‘विश्वकप लक्षित आयोजनाहरू अन्तिम चरणतिर प्रवेश गरिरहेको देख्दा विश्वकप पनि नजिकै आएजस्तो लाग्न थालेको छ ।’


४० हजार सिट क्षमता भएको अल–वक्रा आउँदो डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ । विश्वकप सकिएपछि २० हजार क्षमतामा झारेर बाँकी २० हजार क्षमताको रंगशाला अरू देशलाई दिइने योजना छ । यसरी बनिबनाउ रंगशाला पाउन सक्ने मुलुकमा नेपालको नाम पनि जोडिएको छ । यो स्टेडियम वनाउन एक हजारभन्दा बढी नेपालीको पसिना मात्रै बगेको छैन, सुखीपुर–४, सिरहाका २९ वर्षीय अनिलकुमार पासवानले ज्यान नै गुमाए ।

अलखोर स्टेडियम

 

कतारको हतार
२ डिसेम्बर, २०१० मा ज्युरिचमा बसेको २२ सदस्यीय फिफाको कार्यकारणी समितिले मतदान प्रक्रियाबाट प्रतियोगिताका लागि कतारलाई आयोजक राष्ट्र छानेको थियो । कतारले सन् २०२२ मा विश्वकप आयोजना गर्न ४ बिलियन डलर खर्च लाग्ने प्रक्षेपण गर्‍यो । यसमा होटल, सडकजस्ता पूर्वाधार जोडिएको छैन । गर्मी समयमा कतारको तापक्रम ४५ डिग्रीसम्म पुग्ने भएकाले फुटबल खेलाउन सम्भव थिएन । जसलाई जाडो याममा सारिएको छ । विश्वकप २०२२ का लागि १२ वटा स्टेडियम बनाउने घोषणा गरिएको थियो । अब स्टेडियम ८ वटामै सीमित हुने देखिएको छ । ‘खलिफा अन्तर्राष्ट्रिय स्टेडियम’ त गत मे महिनाबाट चालु भइसकेको छ । यो स्टेडियममा कतारको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘अमीर कप’ को फाइनल खेल आयोजना गरी उद्घाटन गरिएको थियो । सन् २००६ मा एसियन कप खेलाउन बनाइएको खलिफालाई स्तरोन्नति गरी २०२२ का लागि तयार गरिएको यो पहिलो स्टेडियम हो । ४० हजार दर्शक अट्ने क्षमता रहेको यही स्टेडियममा २०१९ मा विश्व एथलेटिक्स च्याम्पियनसिप खेल आयोजना हुँदै छ ।


कतारको दोस्रो प्रमुख सहरको नाम हो— अलखोर । दोहाबाट ६० किमि उत्तर रहेको अलखोरमा निर्माणाधीन अल बायट स्टेडियम भने ‘शंखेकीरा’ आकारमा बन्दै छ । ६० हजार दर्शक अट्ने क्षमता रहेको यसमा सेमिफाइनल खेल हुनेछ । खेल सम्पन्न भइसकेपछि ३० हजार सिट भने अरू मुलुकलाई ‘डोनेट’ गरिनेछ । यतिखेर स्टेडियममा छाना छाउने काम धमाधम भइरहेको छ । सन् २०१८ को अन्त्यसम्म यसको निर्माण सम्पन्न हुने लक्ष्य छ । यो स्टेडियममा एक भारतीय कामदारको हृदयाघात भएर ज्यान गएको एउटा मात्रै घटना सार्वजनिक भएको थियो । त्यसबाहेक अरू मानवीय क्षति भएको घटना बाहिर आएको छैन ।


अल रयैन स्टेडियम बनाउनका लागि कामदारले ५० लाख घण्टा (५ मिलियन म्यान आवर) श्रम गरिसकेका छन् । यति लामो समय काम गर्दा कुनै दुर्घटना खबर बाहिर आएको छैन । ‘बिनामानवीय क्षति स्टेडियम बनाउने हाम्रो लक्ष्यमा अल रायैन सफल देखिएको छ,’ अल रायैनका प्रोजेक्ट म्यानेजर अब्दुल्लाह अल फिहनीले विश्वकपबारेको आफ्नो सूचना वेबसाइटमा भनेका छन्, ‘यो हाम्रा लागि ठूलो उपलब्धि हो ।’


नेपाली कामदारका लागि कल्याणकारी कामहरू पनि भइरहेकै छन् । यो स्टेडियममा काम गर्ने झन्डै दुई हजार नेपाली कामदारलाई नेपाली कम्पनीले सप्लाई गर्न पाएको छ । ‘नेपाली कम्पनीले फिफाको मापदण्ड पूर्ण रूपमा लागू गरेको’ भन्दै उच्च नम्बर दिएपछि निरीक्षणमा जाने विदेशीहरू नेपाली कम्पनीकै क्याम्पमा पुग्ने गरेका छन् । ‘हामीले फिफाको मापदण्ड पूरा गर्न सक्दा उत्साहित छौं,’ नाम उल्लेख गर्न नचाहने नेपाली कम्पनीका व्यवस्थापकले भने, ‘यसलाई कायम राखिराख्न निकै चुनौती छ । यो मापदण्ड अब प्रतिष्ठाको विषय पनि बनेको छ ।’ अल रैयन स्टेडियम पनि ४० हजार क्षमताकै हो । सन् २०१९ सम्ममा निर्माण सम्पन्न भइसक्ने योजना छ । फिहानीका अनुसार विश्वकप सकेपछि यो स्टेडियमलाई निकालेर फुटकल फयान मुलुकलाई प्रदान गरिनेछ ।


कतार फाउन्डेसनको स्टेडियमलाई ‘मरुभूमिको हीरा’ पनि भनिएको छ । ‘एजुकेसन सिटी’ भित्र निर्माणाधीन यो स्टेडियमलाई सन् २०१९ भित्र खुला गर्ने योजना छ । ४० हजार दर्शक अट्ने क्षमता रहेको यसको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । यसमा क्वाटरफाइनलमाथिका खेलहरू हुनेछन् ।


दोहाबाट १५ किमि उत्तरतिर पर्छ, लुसेल स्टेडियम । निर्माणाधीन यो स्टेडियममा उद्घाटन र फाइनल खेल हुँदै छ, यसको सिट क्षमता ८० हजारको छ । कतार–चीनका कम्पनीले संयुक्त रूपमा बनाइरहेको यो स्टेडियम लुसेल सिटीभित्र छ । यो सिटीमा दुई लाख मानिस बस्न मिल्ने गरी संरचना बनाइएको छ । ‘हामीले २०१६ को अन्त्यबाट स्टेडियम बनाउन थालेका हौं । थोरै समयमा हामीले धेरै काम गरिसकेका छौं । हरेक दिन स्टेडियमको स्वरूप परिवर्तन भइरहेको छ,’ लुसेल स्टेडियमका प्रोजेक्ट म्यानेजर तमिम इल अवेडले आफ्नो वेबसाइट सूचनामा भनेका छन् । यो स्टेडियम बनाउन कम्तीमा ३५ सय कामदारले दैनिक पसिना बगाइरहेका छन् । फाइनल हेर्न आउनेका लागि यो स्टेडियममा लुसेल सिटीभित्र मात्रै चल्ने छुट्टै ‘लुसेल म्ेरटो रेल’ निर्माणाधीन छ । लुसेल सिटी र लुसेल स्टेडियम बनाउनका लागि एक लाख ७० हजार कामदारले काम गरिरहेका छन् ।


‘गहफिया’ अर्थात् अल थुमामा स्टेडियम । अरबी पुरुषले टाउकोमा लगाउने टोपी (गहफिया) को आकारमा यो स्टेडियम बन्दै छ । यसको डिजाइन गएको अगस्टमा मात्रै पूरा भएको हो । यो अरू स्टेडियमभन्दा पछि अर्थात् सन् २०२० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । क्वाटरफाइनलसम्मका खेलहरू आयोजना हुने यसको क्षमता ४० हजार दर्शक अट्ने बराबर छ ।


दोहाको मुटु मानिएको वेस्ट वे नजिक बन्ने अर्को स्टेडियम हो, रस अवु अवोउड स्टेडियम । ४० हजार सिट क्षमताको यो स्टेडियम स्थानान्तरण गर्न मिल्ने (ट्रान्सफरेवल) रूपमा निर्माणाधीन छ । यो वनाउन पश्चिमा मुलुक हुँदै जहाजबाट सिधै निर्माण सामग्री ल्याउने योजना छ । समुद्रछेउमा बन्न लागेको यो स्टेडियम आफैंमा रमितलाग्दो हुनेछ । स्टेडियम सन् २०२० भित्रमा निर्माण सम्पन्न हुने जनाइएको छ ।


कतारले रंगशाला सुरक्षामा एकदमै सचेतता अपनाएको देखिन्छ । अन्तर्राष्ट्रिय ट्ेरड युनियन महासंघ –आईटीयूसी) ले फुटबल खेलाउने बेलासम्म स्टेडियम बनाउने ४ हजार कामदारको मृत्यु हुने अनुमान गरेको थियो । आईटीयूसीले लगाएको आरोप पुष्टि हुन नदिन कतारले स्टेडियमभित्रको कार्यस्थल सुरक्षामा विशेष ध्यान दिइरहेको छ । कामदारका बासस्थान, खानपिनदेखि काम गर्ने अवधिमा पनि कडाइ गरेको छ । कतार फाउन्डेसनले तयार गरेको श्रमिक अधिकारको मापदण्ड र श्रम कानुनलाई पूर्ण रूपमा लागू गरेको छ । ‘अहिलेसम्म तलबमा कुनै समस्या छैन । एउटा कोठामा चार जनालाई राखिएको छ । बस्ने क्याम्पको सुप्रिम कमिटीबाट निरीक्षण भइरहेको छ,’ अल–वक्रा स्टेडियममा कार्यरत महेन्द्र लामाले भने, ‘दिनमा तीन पटक खाना खुवाउँछ— ब्रेकफास्ट, लन्च र डिनर । आफूखुसी बाहिरको खाना खान पाइँदैन । दिनमा ८ घण्टा नियमित र २ घण्टा ओभरटयाम गर्न पाइने सुविधा छ । वार्षिक रूपमा अनिवार्य एकमहिने घर बिदा पाउने व्यवस्था छ ।’


कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराला स्टेडियममा काम गर्ने नेपालीबाट अहिलेसम्म एउटै पनि उजुरी नआएको बताउँछन् । ‘हामीलाई स्टेडियममा काम गर्ने नेपालीका बारे तथ्य–तथ्यांक त्यति थाहा हुँदैन,’ राजदूत भन्छन्, ‘जव कुनै समस्या आउँछ, त्यसपछि मात्रै हामीलाई थाहा हुन्छ । तर, अहिलेसम्म कुनै समस्या आएको जानकारीमा छैन ।’

कोसेली

रुसमा नेपाल झल्को

पर्यटन
रुसको नेपाल हाउस घुमेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विट गरेका छन्— नेपालबाहिर नेपालको प्रतिमूर्ति यसले देखाएको छ । आफ्नो संस्कृति, वास्तुकला प्रस्तुत गरेको छ । यसमा (इथ्नो वल्र्ड) नेपालले महत्त्वपूर्ण स्थान ओगटेको देख्न पाउँदा खुसी लाग्यो ।
- राजु घिसिङ

रुसको राजधानीबाट करिब ९० किलोमिटरको यात्रामा कलुगा पुगेपछि ‘इथ्नो वल्र्ड’ को प्रवेश गरेलगत्तै एउटा गेटमा देखिन्छ— वेल्कम टु नेपाल हाउस । यो ठ्याक्कै काठमाडौंको न्युरोड गेटजस्तै छ । गेटभित्र दुवैतिर पाटी छन्, जसले भक्तपुर वा पाटन दरबार क्षेत्रको झल्को दिन्छ ।
अझ भित्र तीनवटा ढुंगेधारा छन्, जसको तल र माथि खोपामा मूर्ति सजाइएका छन् । बायाँतर्फका म्हानेले बौद्ध वा स्वयम्भूको याद दिलाउँछ । म्हाने घुमाइनसक्दै ठूलो घण्टानिर पुगिन्छ । काष्ठकलाले भरिपूर्ण मुख्य ढोकामा प्रवेश गर्नुअघि चैत्य पार गर्नुपर्छ, जहाँ रुसका बौद्धमार्गी शैलीमा बट्टाभित्र बत्ती बाल्न सकिन्छ । ढोकाभित्र बज्रसँगै बुद्धका दुई मूर्ति सजाइएका छन् ।


प्यागोडा शैलीमा निर्मित उक्त नेपाल हाउसको संरचनाले विश्वकै शक्तिशाली देशमा पुगेर पनि नेपालभित्रै भएजस्तो महसुस गराउँछ । ‘त्यसैका लागि नेपाल हाउस बनाइएको हो,’ इथ्नो वल्र्डका अध्यक्ष रुस्लान बाइरामोभले भने, ‘नेपाली कला, संस्कृति र जीवन देखाउनकै लागि नेपाल हाउस निर्माण गरिएको हो ।’ इथ्नो वल्र्ड सन् २००६ मा स्थापना गरिएको थियो । मस्कोस्थित नेपाली दूतवास र गैरआवासीय नेपाली संघको सहयोगमा नेपाल हाउस २०११ मा निर्माण सम्पन्न भएको थियो ।


इथ्नो वल्र्ड ८४ हेक्टरमा फैलिएको छ । नेपाल हाउसले आधा हेक्टर (९.८२ रोपनी) ओगेटेको छ । नेपाल हाउसनजिक दक्षिण एसियाली संस्कृति झल्काउने भारत र श्रीलंकाको पनि संरचना बनाइएका छन् । साइबेरिया, बेलारुसलगायतलाई समेटेर रुसको विविधता, मंगोलिया, ताजकिस्तानलाई समेटिएको मध्यएसियालीसहित विभिन्न ६ क्षेत्रका सांस्कृतिक पक्षलाई देखाउने संरचना इथ्नो वल्र्डमा तयार गरेर प्रदर्शनीमा राखिएको छ ।


प्रतिव्यक्ति ६ सय रुबल (रु. १,०३८) तिरेर गत वर्ष आठ लाखले इथ्नो वल्र्डको अवलोकन गरेको तथ्यांक छ । ‘मस्को र र यस वरिपरिका धेरै आउँछन् । उनीहरूको मुख्य आकर्षण नेपाल हाउस नै हो । बुद्धको जन्मभूमि र सगरमाथा भएको देशबारे धेरैले चासो राख्छन्,’ अध्यक्ष रुस्लानले भने, ‘हामीले विश्वका सबै देशका संस्कृतिलाई एउटै थलोमा देखाउन खोजेका छौं । विद्यार्थी र बाहिर जान नसक्ने मानिसहरूलाई विश्वका कला, संस्कृति र शिक्षा यही देखाउन चाहन्छौं । यसले कला–सांस्कृति आदनप्रदानमा सहयोग गर्छ ।’
संसरमा विविधता भएर पनि एकता सम्भव भएको देखाउने प्रयास इथ्नो वल्र्डमा गरिएको उल्लेख गर्दै उनले भने, ‘संसार एउटै हो । हामी शान्त हुनुपर्छ भन्ने चाहन्छौं ।’ मल्लकालीन शैलीमा प्यागोडा, न्युरोडको गेट, घण्टा, बज्र, चैत्य पाटी निर्माण गरिएको नेपाल हाउसका आर्किटेक्ट प्रकाश तुलाधरले बताए । ‘नेपालको मल्लकालीन संस्कृतिलाई झल्काउने प्रयास गरिएको हो,’ उनले भने ।


अध्यक्ष रुस्लानका अनुसार इथ्नो वल्र्ड र रुसमा रहेका नेपालीहरूको ३० लाख डलर (तीस करोड रुपैयाँ बढी) लगानीमा नेपाल हाउस निर्माण गरिएको हो । ‘निर्माणमा प्रयोग भएका इँटाबाहेक सबै सामग्री नेपालबाट ल्याइएको हो । त्यो ५० टन बढी थियो,’ गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव बद्री केसीले भने, ‘मूर्ति बुङमती र पाटनका कलाकारले बनाएका हुन् । आँखी झ्याल र कलात्मक ढोका, घण्टा, म्हाने पाटनमा तयार पारिएको हो ।’


गत वर्ष करिब ८ हजार रसियनले नेपाल भ्रमण गरेको सन्दर्भमा केसीले भने, ‘नेपाल हाउस हेरेपछि धेरैले नेपालबारे जानकारी लिन्छन् । यसले नेपालको पर्यटन उद्योगलाई पनि प्रवद्र्धन गर्छ ।’ रुसमै व्यवसाय गरिरहेका उनी नेपाल हाउस निर्माणमा सुरुबाटै संलग्न थिए । नेपाल हाउस निर्माणमा रुसका लागि नेपालका पूर्वराजदूत सूर्यकिरण गुरुङ, एनआरएनएका पूर्वअध्यक्षद्वय उपेन्द्र महतो र जीवा लामिछानेलगायतको योगदान महत्त्वपूर्ण थियो । नेपाल हाउसमा रेस्टुराँ, हल, २० वटा कोठा (होटलको रूपमा प्रयोग) पनि नेपाली शैलीमै बनाइएका छन् ।


रुस भ्रमणको क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेतृ हिसिला यमीले पनि सोमबार नेपाल हाउसको अवलोकन गरे । जीवा लामिछानेद्वारा गरिएको ट्विटमा भट्टराईले भनेका छन्, ‘नेपालबाहिर नेपालको प्रतिमूर्ति यसले देखाएको छ । आफ्नो संस्कृति, वास्तुकला प्रस्तुत गरेको छ । यसमा (इथ्नो वल्र्ड) नेपालले महत्त्वपूर्ण स्थान ओगटेको देख्न पाउँदा खुसी लाग्यो ।’


नेपाल हाउसको पछाडिको डिजाइन नारायणहिटी दरबारसँग मिल्दोजुल्दो छ । अगाडि राखिएको चिम्नी अलि परबाट हेर्दा लुम्बिनीको अशोकस्तम्भजस्तै देखिन्छ । त्यसैले चिम्नी गृहलाई गुम्बज शैलीमा ढालिएको एनआरएनएका महासचिव केसीले बताए । विश्वको सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्ण कदको सालिक पनि स्थापना गरिएको छ ।


‘जो गए पनि एकदमै प्रभावित भएर फर्कने गरेका छन्,’ एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेले भने । फोटो खिच्नेहरूको भीड मुख्य प्रवेशद्वारसँगै ढुंगेधारा, म्हाने र चैत्यमा लाग्दोरहेछ । रसियन शैलीमा चैत्यमा बत्ती बालेपछि तातियानाले भनिन्, ‘नेपालजस्तै लाग्छ । यहाँ बेलाबेला आइरहन्छु ।’ बुद्ध जन्मस्थल लुम्बिनी पुगिसकेकी उनी बौद्धमार्गी हुन् । रुसको तीन राज्य (बुरियातिया, काल्मिकिया र तुभा) बौद्धमार्गीको ठूलो संख्या भएको उनले बताइन् । सन् १९९२ मा दलाई लामाको भ्रमणयता रसियन बौद्धमार्गी तिब्बतियन गुरुबाट प्रभावित रहेछन् ।


इथ्नो वल्र्डसँगै वल्र्ड हेरिटेजको रूपमा ४५ देशका घर पनि सजाइएका छन् । यहाँ ब्राजिल र श्रीलंकाको बीचमा रहेको घरले काठमाडौं उपत्यकाका परम्परागत नेपाली घरको अनुभव गराउँछ । बाहिर नेपाली राष्ट्रिय झन्डा फहराइएको छ भने भित्र बौद्ध, हिमालयको आकृति कुँदिएको छ । नेपाली जीवनशैली र प्राकृतिक सौन्दर्य झल्कने तस्बिरहरूसँगै बुद्ध मूर्ति, गिद्ध र राजा त्रिभुवनले नेपालमा व्यवसाय गर्न ल्याइएका रसियन बोरिस लिसानेविचको अर्धकदको सालिक पनि हेर्न सकिन्छ ।


मस्कोमा नेपाली व्यवसायीद्वारा सञ्चालित रेस्टुराँ औरा र ओम शान्तिले पनि नेपालीपन झल्काउने गर्छ । औरामा चन्द्रशमशेरका तस्बिरदेखि भित्तामा सजाइएका मण्डलाहरूका चित्रले मन लोभ्याउने गर्छ । ओम शान्तिमा भने दलाई लामाको दरबार र ल्हासालाई राखिएको छ । हुन त सेन्ट पिटर्सबर्गको नेभ्स्की होटल एस्टरको डाइनिङ हलमा झुन्डाइएका बौद्ध र पशुपतिका योगीहरूका तस्बिरले पनि मन छुने गर्छ ।

 

रुस्लानको नेपाल मोह
‘धेरैपल्ट नेपालको भ्रमण गरेको छु,’ इथ्नो वल्र्डका अध्यक्ष रुस्लान बाइरामोभले भने, ‘पहिलोपल्ट सन् २००४ मा पुगेको थिएँ । सिमिकोट हुँदै कैलाश पर्वत गएको थिएँ । नेपाल असाध्यै मन पर्‍यो । त्यसैले जमिन किनेलगत्तै नेपाल हाउस बनाउनुपर्छ भनेर लाग्यौं । दूतावास र नेपाली साथीहरूले राम्रो सहयोग गरे ।’


‘हामीले लुम्बिनीमा रसियन गुम्बा बनाइरहेका छौं । हामी थप सहयोग गर्न तयार छौं,’ ४९ वर्षीय रुस्लानले भने, ‘यस्तै खालको (इथ्नो वल्र्ड) नेपालमा पनि बनाउने चाहना छ । काठमाडौं वा त्यसको नजिक बनाउन चाहन्छौं । त्यसले तीन करोड नेपालीसँगै विद्यार्थीलाई धेरै ज्ञान दिनेछ ।’


‘म आफैं पनि हिमाली भेगमा जन्मिएको मान्छे हुँ,’ अजरबैजानी बुबा र रसियन आमाका यी छोराले भने, ‘दुई संस्कृतिमा हुर्किए । सानैमा बुबाले संसारको नक्सा देखाएका थिए । ११ वर्षको हुँदासम्म सबै देशको नाम, राजधानी र भूगोलबारे राम्रो ज्ञान लिइसकेको थिए । १८ वर्षको छँदा पहिलोपल्ट योगको किताब पढेको थिए, त्यसले आकर्षित गर्‍यो । अनि पूर्वीय शास्त्र र धर्मबारे रुचि जाग्यो । तीस वर्षयता यसैमा लागिरहेको छु ।’


विद्यार्थी छँंदै व्यापार थालेका उनको रुचि मानवीय किसिमको व्यवसायतिर थियो । त्यसैले उनले रुसकै एक गाउँमा देखेको छाप्रोजस्तै मस्कोस्थित आफ्नो घरमा बनाएका थिए । ‘त्यो छाप्रोले धेरैलाई आकर्षित गर्‍यो । मान्छेको भीड लाग्न थाल्यो,’ उनले भने, ‘त्यसपछि परम्परागत रसियन घर बनाए । यो पनि आकर्षणको केन्द्र बन्यो । अनि संसारका सबै खालका जनजातीय प्रारूपका घर बनाउने सोंच आयो । जमिन भाडा लिएर काम पनि थालिहाले । संसारका सबै देशको कला, संस्कृति जीवनशैली देखाउने योजना छ । सबै देशलाई पुग्ने गरी जमिन पनि छ्ट्याएका छौं ।’
Twitter: @rghising

Page 24
कोसेली

मामुरगन्जमा बीपी र म

बीपी स्मृति दिवस
- ध्रुवचन्द्र गौतम
बीपी इतिहास : ‘रुपरेखा’ पत्रिकाका सम्पादक उत्तम कुँवरले २०३८ साल असार महिनाको एउटा बिहानीमा चाबहिल, मैंजुबहालस्थित आफ्नै निवासमा आयोजना गरेको दिवाभोजपछिको संयुक्त फोटो–सेसन । दिवाभोज राजनीतिज्ञ एवं साहित्यकार बीपी कोइरालाको सम्मानमा दिइएको थियो । उक्त दिवाभोजमा उत्तम कँुवर, शान्ति कुँवर, मोहन कोइराला, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम, मदन रेग्मी, पुरूषोत्तम बस्नेतसहित सहभागी थिए । तस्बिर सौजन्य : ध्रुवचन्द्र

त्यो समयलाई सबैले ‘कडा–काल’ भन्थे । सिकारु लेखक ध्रुवचन्द्र गौतमले राजनीतिज्ञ एवं साहित्यकार बीपी कोइरालालाई बनारसमा पहिलो पटक भेटेका थिए । भेटवार्तापछि बीपीले भनेका रहेछन्, ‘चिठी लेख्नुहोला । कि डराउनुहुन्छ ?’ दुर्भाग्य † त्यो कडा–कालमा ‘डराएर’ होइन, बरु बीपीको पत्राचार ठेगानै नपाएर ध्रुवचन्द्रले कहिल्यै चिठी लेख्न पाएनन् ।

 

साउन ५, २०७५ को साँझ काठमाडौंबाट हिंडेको हाम्रो ५ जनाको ‘काफिला’ राप्ती नदी किनारको एक रिसोर्ट–कुटीमा बसेर चिया पिइरहेको थियो । पुरुषोत्तम बस्नेत, डा. गोविन्दराज भट्टराई, डा. ज्ञानू पाण्डे, राजेन्द्र पराजुली र म साथै थियौं । ‘कुटी’ मैले किन भनें भने जुन छाप्रोमुनि बसेर हामी चियापान गरिरहेका थियौं, त्यसको छानो फुसको थियो । छेउमा कतै राप्ती बहिरहेको थियो, खर लहलह थियो ।


त्यहाँ चर्चा थियो—राप्तीकै । सँगै चर्चामा जोडिएर आइरहन्थे— साहित्यकार बीपी कोइराला । २०५० सालमा कति भयानक भएको थियो, त्यसपछि यो बर्खामा मात्रै हात्तीसमेत तर्न तर्सने गरी भयानक भएको थियो राप्ती । बताइरहेका थिए— यहाँसम्म पानी नै पानी थियो, घरभित्रै पस्यो । यो कथा बताइरहेका थिए, रिसोर्टका मालिक र राजनीतिक सचेतक रामचन्द्र अधिकारी । उनको स्वास्थ्य भने उमेरभन्दा पनि निकै स्फूर्त, ताजगीयुक्त देखिन्थ्यो । त्यहाँ हामीसित धनराज गिरी पनि थिए, गजलकार र गणितज्ञ । त्यही गणित बलका भरमा गिरीले रामचन्द्रजीको उमेर कति होला भन्नुस् त भनेर सोध्दा सुरुमा हामी अल्मलियौं । पछि सही उमेर थाहा पाएपछि पो रामचन्द्रको स्वास्थ्य ‘राज’ खुल्यो । उनी साइकलमा दिनदिनै लामो चक्कर लगाउँदा रहेछन्, सौराहा एकफेरो ।


हाम्रो त्यो ‘काफिला’ का सबै जना ‘बीपी ट्रस्ट’ सँग सम्बद्ध थिए । त्यहाँ हामी बीपी स्मृति–दिवस मनाउन गएका थियौं । बीपी स्मृति दिवसको औपचारिक समारोहपछि चियापानमा हामी जुटेका थियौं । सबै कुराकानी र गफगाफको केन्द्रमा बीपी नै थिए । ‘स्थायी’ भन्छन् नि संगीतमा, त्यो ‘स्थायी’ भने, बीपीको स्मृति नै थिया ।


स्मृति कार्यक्रम बीपी ट्रस्टसँग चितवनकै विभिन्न संघसंस्था जस्तो : नोपली लेखक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ आदिसँग मिलेर गरिएको थियो । यो दिवसको अवसरबारे मलाई ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले बताएका थिए । सारा व्यवस्थापन उनैले गरेका थिए । काफिलाका एक पुरुषोत्तम बस्नेत मेरा धेरै पुराना मित्र हुन्, अझ सबभन्दा पुरानामध्ये एक त, एउटा रमाइलो त्यो थियो । बीपीसँग काठमाडौंमा पहिलो भेट पुरुषोत्तम बस्नेतद्वारा नै भएको थियो, २०३५ सालमा, चाबहिलमा । बस्नेतका दुई पुस्तक ‘नेपाली कांग्रेसको इतिहास’ पढेर म झनै प्रभावित भएँ, उनको विद्वताबाट । स्मृति–सभामा पनि उनले सभापतिको आसनबाट कैयौं ‘नायाब’ ऐतिहासिक जानकारी दिए ।


डा. गोविन्दराज भट्टराई मेरा आत्मीय साहित्यिक मित्र हुन् । उनले बताए— विश्वका ७० हजार लाइब्रेरीमा नेपाली साहित्यकारमध्ये सबभन्दा बढी देवकोटाका कृति पुगेका छन्, त्यसपछि बीपीकै हो । उनले हाम्रो अवस्था (दुरवस्था) पनि बताए, हाम्रा कति पुस्तक पुगेका छन् ? अथवा हामी कहाँ छौं ? डा.भट्टराईले यो तथ्य–तथ्यांक सुनाइरहँदा मैंले गालिबको एउटा शेर सम्झें :
हम वहाँ हैं जहाँ से हम को भी
खुद हमारी खबर नहीं आती ।
डा. ज्ञानू पाण्डे, विद्यार्थीकालदेखि नै बौद्धिक थिइन्, अहिले त झन् विशिष्ट छिन् । त्यतिकै विशिष्ट बोलिन् पनि । बीपीको सम्झना सार्थक किसिमले भयो । त्यहींका अन्य विद्वान्, सांसदले सारगर्भित बोले र, आश्वासन पनि आसलाग्दो दिए । एक जना गीता वाग्लेको विशेष म उल्लेख गर्न चाहन्छु । पहिले प्रतिनिधिसभाकी सांसद, अहिले प्रदेशकी । स्पष्टवादी स्वभावकी लागिन् उनी । आउने दिनमा ‘ट्रस्ट’ लाई आवश्यक सहयोग गर्ने आश्वासन उनले दिएकी थिइन् । काठमाडौं हिंड्ने दिनको ‘दिवा–भोज’ उनैले आफ्नातर्फबाट हामीलाई दिइन् । आफ्नै गाडीमा हामीलाई एयरपोर्ट पुर्‍याइदिइन् । सबले महसुस गर्‍यौं गीता वाग्ले, ‘मनकी सफा’ हुन् । पछि उनैले बताएपछि थाहा भयो—उनी ‘थाहा’ अभियन्ता रूपचन्द्र विष्टकी बहिनी हुन् ।


हामीले साउन ६ गतेको सट्टा ५ गते नै बीपी स्मृति–दिवस मनाएका थियौं । त्यसदिन बिहानैदेखि कति प्राध्यापक, लेखकहरूसित भेट भयो । जस्तो केदारनाथ खनाल, हरिहर पौडेल, सरिता तिवारी, गायत्री श्रेष्ठ आदि । उदयराज निकै बौद्धिक पाठक हुन । उनी विश्व साहित्यका राम्रा जानकार हुन्, तिनीसँग पनि भेट भयो । एक शिक्षिका लक्ष्मी बराल पनि भेट भइन् जसले मेरो ‘उपसंहार अर्थात् चौथो अन्त्य’ र अन्य किताबको कुरा गरिन् । यही लाग्यो— बाहिर पनि मेरा पाठक रहेछन् ।


यस्ता भेटघाट त अनगिन्ती भए । सबैजसो बीपीको नाममा आएका थिए । रमाइलो के भयो भने हल टन्नै भरियो । अन्य कतिपय कार्यक्रमविपरीत, अन्त्यसम्म सबै बसिरहे धैर्यपूर्वक । बीपीको स्मृति दिवसको त्यो कार्यक्रम यति सफल थियो कि राप्ती किनारमा चियापानमाझ राजेन्द्र पराजुलीले भने— डा. साहेब आज मनाउनुपर्छ ।


यो ‘मनाइने’ अर्थमा साँझ सांस्कृतिक कार्यक्रम थियो, लोक–नृत्यहरूको । त्यस्तो मैले द्वारिका श्रेष्ठको ‘जंगल लज’ मा विगतमा प्रशस्तै हेरेको थिएँ । त्यसकारण म भने गइनँ । बरु एक्लै कोठामा आनन्द ग्रहण गर्दै, बीपीसँग भएका भेटघाटहरू सम्झिरहें ।
***

 

२०२७ सालतिर हामी केही जना एक प्रकारले पारिवारिक भ्रमणमा बनारस गएका थियौं । नेपाली धर्मशालामा बस्यौं । एक दिन अचानक, भुवन ढुंगाना (त्यस बखत कोइराला) सँग भेट भयो । उनले भनिन्, ‘बीपीसँग भेट्ने हो ?’
‘किन नभेट्ने ?’
‘त्यसो भए म भोलिलाई टाइम लिएर आउँछु, यहींबाट जाउँला ।’
भोलिपल्ट दुवै जना मामुरगन्ज भन्ने ठाउँमा रिक्सामा गयौं ।
भेट्न मात्र गएको, बीपीले ‘सँगै लन्च नै गर्न’ भनेपछि झन् बढी निकटस्थ भइयो । लगभग दिनभर । भुवन त भित्र गइन्, अरू नातेदारसँग भेट्न । बीपीसँग म मात्रै बसिरहें । तिनताक बीपी छेउमा आउनेहरूमा राजनीतिक प्रश्न नगर्ने त को होला र ? मलाई भने थाहा थियो— बीपी राजनीतिज्ञ मात्रै होइन, कुनै उच्च कोटिका साहित्यकार समेत हुन् ।
‘तपाईंका कथा मैले पढेको छु’,भेटघाटमा बीपीले मतिर फर्केर भनेका थिए । मलाई त्योभन्दा के चाहियो ? एउटा भर्खरै लेखिएको लेखक ‘नौसिखिया’ लाई ? ‘रूपरेखा’ केही र एक दुई कथा ‘मधुपर्क’ मा छापिएको लेखक थिएँ । प्रोत्साहनलाई भनेको भए पनि म उनको भनाइले प्रोत्साहित भएकै हुँ ।


त्यस बखतसम्म बीपीका त कैयौं कथा पढिसकेको थिएँ, आईएमा रहेको ‘शत्रु’ देखि एमएमा पढेको ‘कथा कुसुम’ मा प्रकाशित कथासम्म । बीएमा ‘शत्रु’ कथाका कृष्ण रायको मनोविज्ञान व्याख्या गर्दा ताराप्रसाद गुरु संस्कृतको एक श्लोक भन्थे :
‘न कश्चित् कश्यचिन्मित्र, न कश्चित् कश्यचिन् रिपु ।’ अर्थात् (कोही कसैको शत्रु हुँदैन, कोही कसैको मित्रु हुँदैन ।)
बीपी कोइरालासित मैले त्यस दिन उनकै कथाबारे प्रश्न गरिरहें । उनले आफ्नो कथाबाहेक, विश्व–कथाबारे पनि बताए । उनीसँग विश्व–साहित्यबारे जति पनि ज्ञान थियो, मलाई त्यही लाग्यो त्यस क्षण । त्यसै क्रममा उनले आफ्नो धारणा राख्दै भने, ‘म पैसाका लागि लेख्न चाहन्नँ ।’
मैले भनें, ‘यो आदर्श त उचित हो, तर सान्दाजु हामीजस्ताले त्यो धान्न सक्लाऔं सधैं ?’
‘हुँदैन तर त्यो आदर्श राख्नुपर्छ । त्यसले लेखकलाई इमानदार राख्न मद्दत गर्छ ।’
त्यसबाट मैले एउटा ज्ञान जरुर पाएँ, आफूमा संशोधन पनि केही गरें— पैसा पाइन्छ भन्दैमा नलेख्ने । लेखेपछि पैसा खोज्न भने परिस्थितिले लगाउँथ्यो, त्यो खराब लागेन । म त्यही गर्छु पनि । आज धेरै समयदेखि कथा लेखेको छैन भने ‘पैसाकै लागि नलेखेकै’ कारणले हो । नत्र त बलजफ्ती लेखे पनि केही पैसा त आउँदो हो ।
उठ्ने उठ्ने बेलामा मैले लगभग अन्तिम प्रश्न गरें, ‘हजुरलाई आफ्ना उपन्यासमध्ये कुन मन पर्छ ?’
त्यो प्रश्नको उत्तर नदिएर उनले मुसुक्क हाँस्दै मलाई उल्टै सोधे । मैले सम्भवत: अप्रचलित कुरा भनेको थिएँ कि के हो, म भन्न सक्दिनँ । तर त्यस बखत पढेको उनको जुन उपन्यासको प्रभाव परेको थियो, त्यही भनें,
‘नरेन्द्र दाइ ।’


उनले भने, ‘मलाई पनि त्यही मन पर्छ ।’
उनले मेरो मन राख्न पनि त्यो उत्तर दिएका थिए कि साँच्चिकै ?
मैले त्यस बखत छुटयाउन सकिनँ । यो भेटवार्ता र संवादबारे मैले सौराहाको बीपी स्मृति–सभामा पनि बोलेको थिएँ ।
बीपीसँग भेटेको कति वर्षपछि एक दिन चाबहिलमा मकहाँ चक्र बाँस्तोला रात्रि–भोजका निम्तिमा आउँदा मैले ‘नरेन्द्र दाइ’ र
बीपीले दिएको जवाफको प्रसंग बताएको थिएँ ।


चक्रजीले भने, ‘त्यो हुन सक्छ किनभने ‘नरेन्द्र दाइ’ उपन्याससँग उहाँको बेग्लै ‘अटयाचमेन्ट’ थियो । चक्र बाँस्तोला स्वस्थ भएको भए यो कुरा पुन: भन्थे होलान् । वास्तवमा चक्रजीकै तर्कपछि म झन् सन्तुष्ट भएको थिएँ, बीपीको ‘नरेन्द्र दाइ’ प्रतिको धारणा साँच्चिकै रहेछ ।


बीपीसँग त्यस दिन मात्र होइन, जति पटक भेट्दा पनि देखें, उनीमा आडम्बर पटक्कै पाइन । हिंड्ने बेलामा उनी स्वयं बाहिरसम्म हामीलाई छोड्न आए । त्यस्तोमा मान्छे एउटा एकदम ठिटयौले लेखक, एक इतिहास बनाउने लेखकबाट अभिभूत कति हुन्छ कि हुँदैन ? बाहिर बरन्डामा चक्र बाँस्तोला कुर्ता–पाइजामा लगाएर झोला भिरेर उभिएका भेटिए, मेरो उनीसितको प्रथम भेटका रूपमा ।


‘कडा–काल’ यति थियो कि, मैले मसित आएका नातेदार र कुनै साथीलाई पनि यो भेटबारे ठयाम्मै भनिनँ । ‘कडा छ नेपालमा’ भन्ने कुरा त बीपीलाई पनि थाहा थियो । उनले हिंड्ने बेलामा भने, ‘चिठी लेख्नुहोला । कि डराउनुहुन्छ ?’
मैले भनें, ‘होइन, डराउँदिनँ हजुर, म लेखिहाल्छु नि ?’
बीपीको त्यस बखतको सरलता आज पनि सम्झन्छु । त्यस दिन भुवनजी र म त फक्र्यौं । कसैलाई भनिनँ, म कहाँ गएको थिएँ ।
बीपीको एउटा कुरा भने सत्य भयो । मैले चिठी भने साँच्चिकै लेखिनँ । तर डराएर भने होइन, बरु बीपीको ठेगाना मसँग भएन । त्यो खोज्दै हिँड्नु त फेरि ‘डरलाग्दो’ नै हुन्थ्यो । त्यसकारण ठेगाना खोजिनँ ।
आफूलाई सान्त्वना अवश्य दिएँ, म डराएको त पक्कै होइन किनभने डराएको भए त जाँदै जाने थिइनँ नि ? त्यसकारण डराएर चिठी नलेखेको होइन, त्यही भनिरहें आफूलाई । त्यो असत्य पनि थिएन ।
राप्ती किनारमा चियाँ खाँदै सुरु भएको स्मृति–प्रसंगहरू, आधी रातसम्म बीपीसँगको यही भेटबारे सम्झँदै बितेको थियो ।
***

 

एउटा अर्को प्रसंगको पनि सम्झना भएको थियो त्यस आधी रातसम्ममा, जुन त्यो भेटघाटको प्रसंगभन्दा भिन्न छ । एमएमा २००६ सालमा प्रकाशित र सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित ‘कथा–कुसुम’ का दुइटा कथाको सम्झना हुन्छ । कथाहरू पढ्दै जाँदा ‘परिबन्द’ पढें— पुष्करशमशेरको । मैले नोटमा लेखें— बेस्ट स्टोरी अफ द कलेक्सन । त्यसपछि बीपीको ‘सिपाही’ पढें, त्यसपछि फेरि लेखें— बेस्ट स्टोरी अफ द कलेक्सन । यसरी लेखें । तर पछि ‘सिपाही’ मैले बारम्बार पढें । मलाई लाग्छ, ‘सिपाही’ आज पनि नेपाली कथा–साहित्यको एक उत्कृष्ट कथामध्ये पर्दछ । पछि हिन्दीका ठूला कथाकार फणीश्वरनाथ रेणुले पनि एक प्रसंगमा भनेका थिए— आफूलाई पढेका कथाहरूमा उनलाई एउटा बंगाली कथा ‘नीला आँखा’ (अनूदित) र बीपीको ‘सिपाही’ मन पर्छ । उनको विचार थाहा पाएपछि ‘म ठीक रहेछु’ भने मेरो विश्वास झन् दृढ भयो ।


बीपीसँग पछि पनि भेट भयो । तर बीपीसँगको त्यो पहिलो, सबभन्दा लामो र यादगार भेटकै प्रसंग क्षणक्षण सम्झिरहेको थिएँ ।


त्यो प्रमाणित भएजस्तो कसरी भयो भने वर्षौंपछि, जब म बम्बईमा पीएचडीका लागि गएको थिएँ । मेरा एक रुममेट थिए— श्रीहर्ष कोइराला, बीपीका माहिला छोरा । एक पटक उनी बीपीलाई भेट्न जाने भए । मैले भनें, ‘श्रीहर्षजी मैले वर्षांैअघि बीपीसँग भेटेको थिएँ, त्यो उहाँलाई याद छ कि छैन, सोध्नुहोला ।’


केही समयपछि बम्बईबाट फर्केपछि उनले भने, ‘तपाईंसँग भेटेको र साहित्यिक कुरा गरेको बाबा (बीपी) लाई एकदम याद रहेछ, अहिले पनि ।’
अनि मलाई मज्जा लागिरहयो, धेरै लामो समयसम्म ।

कोसेली

घाउँके हावासिल

फोकस आउट
- मनोज पौडेल

रुपन्देहीको गैडहवा ताल र आसपास विश्वमै संकटमा पर्न लागेको मनमोहक ‘घाउँके हावासिल चरा’ देखिएका छन् । अनुसन्धानकर्ता प्रशान्त घिमिरेले यो चरा पहिलो पटक देखेका हुुन् । फिरन्ते जातको यो दुर्लभ चरा भाले–पोथी र एउटा बच्चा सँगै चारो टिपिरहेका थिए ।
‘डेढ सय वर्षअघि काठमाडौंमा पहिलो पटक यो चरा देखिएको थियो,’ चराविद् डा. हेमसागर बरालले भने, ‘सन् १९९६ मार्चमा कोसीमा १ सय २० वटा देखिएको थियो ।’ त्यसपछि यो चरा चितवनमा २००५ मा देखिएको थियो । कोसी र चितवनबाहेक तराईमा पहिलो पटक रुपन्देहीमा देखिएको हो । यो चराको आहारा माछा र भ्यागुता हो । बाणजस्तो ठुँडले यसले आहारलाई सिकार बनाउँछ । पानीमा बस्ने यो चरा भारतको केरला र गुजराततिर बढी पाइन्छ । पेलिकन जातको यो चरा विश्वमा ८ प्रजातिका पाइन्छन् । गत वर्ष वैशाख पहिलो सातामा चितवनको बरन्डारभार जंगलमा ३ वटा ‘ठूलो घाउँके हावासिल’ चरा फेला परेको थियो । चितवनमा फेला परेको र रुपन्देहीमा फेला परेको चरा एउटै परिवारको भए पनि फरक प्रजातिका हुन् ।