You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

मिश्र प्रधानन्यायाधीश सिफारिस

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ ।


परिषद्को बिहीबार बसेको बैठकले वरिष्ठतम न्यायाधीश मिश्रलाई सर्वसम्मत सिफारिस गरेको परिषद्का सदस्य कानुनमन्त्री भानुभक्त ढकालले बताए ।


यसअघि प्रधानन्यायाधीशमा सिफारिस अर्का वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकार गरेपछि मिश्रले कायममुकायम प्रधानन्यायाधीशका रूपमा न्याय सम्पादन गर्दै आएका छन् । परिषद् सचिवालयले प्रधानन्यायाधीशमा सिफारिस मिश्रको नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संघीय संसद्को सचिवालयमा पठाउँदै छ ।
सुनुवाइ समितिले सार्वजनिक सूचना जारी गरी एक साताको समय दिएर मिश्रका बारेमा उजुरी आहान गर्नेछ । सचिवालयमा प्राप्त हुने उजुरी अध्ययनपछि समितिले मिश्रलाई बोलाएर सुनुवाइ गर्नेछ । सुनुवाइ समितिबाट अनुमोदन भएपछि मिश्रलाई राष्ट्रपति विद्या भण्डारीले प्रधानन्यायाधीश नियुक्त गर्नेछिन् ।


सर्वोच्चमा तीन वर्ष काम गरेका न्यायाधीश मात्र प्रधानन्यायाधीश हुन योग्य मानिने संवैधानिक व्यवस्था छ । सर्वोच्चमा तीन वर्ष काम गरिसकेका न्यायाधीश दीपकराज जोशी, मिश्र र चोलेन्द्रशमशेर राणा मात्र छन् । जोशी यसअघि नै अस्वीकृत भइसकेकाले मिश्र र राणा मात्र प्रधानन्यायाधीश बन्न संवैधानिक रूपमा योग्य थिए । संसद्ले प्रधानन्यायाधीशका रूपमा आफूलाई अस्वीकार गरेपछि बिदामा बसेका जोशीले परिषद्को निर्णयलाई स्वाभाविक रूपमा लिएको प्रतिक्रिया दिएका छन् । ‘परिषद्ले मिश्रजीलाई सिफारिस गरेको मैले भर्खरै थाहा पाएँ,’ बिहीबार साँझ कान्तिपुरसँग कुरा गर्दै जोशीले भने, ‘यसमा मलाई केही भन्नु छैन, संवैधानिक परिषद्को काम नाम सिफारिस गर्ने हो, गर्‍यो । यसमा म के गर्न सक्छु र †’राष्ट्रपतिसँग लिएको १५ दिने बिदा सकिएपछि उनले थपेको ६ दिन ‘भइपरी बिदा’ पनि मंगलबार सकिँदै छ । उनले फेरि बिदा थप्ने बताएका छन् । ‘म फेरि बिदा थप्दै छु,’ उनले भने, ‘अरू पनि बिदा छन् नि बाँकी †’ संसद्ले आफूलाई अन्याय गरेको भन्दै जोशीले सर्वाेच्चमै केहीअघि एक अधिवक्तामार्फत रिट निवेदन दिन लगाएका थिए, जसलाई रजिस्ट्रारले दरपीठ गरिदिएपछि उनले आफूलाई थप अन्याय भएको बताउँदै आएका छन् ।


रुपन्देहीको राइपुर गाउँमा ६५ वर्षअघि जन्मिएका मिश्रले दिल्ली विश्वविद्यालयबाट तुलनात्मक कानुनमा स्नातकोत्तर गरेका छन् । २०३८ सालमा कानुन मन्त्रालयमा शाखा अधिकृतका रूपमा जागिर सुरु गरेका उनी त्यसको ९ वर्षपछि जिल्ला न्यायाधीशका रूपमा अदालत प्रवेश गरेका थिए । उनीपछि वरिष्ठताका आधारमा चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीशको रोलक्रममा छन् । अनुमोदित भएका खण्डमा राणा पनि करिब चार वर्षका लागि सर्वाेच्चको सर्वाेच्च पदमा रहनेछन् । गत फागुनमा गोपाल पराजुली प्रधानन्यायाधीशबाट पदमुक्त भएदेखि सर्वाेच्च अदालत कायममुकायमका भरमा चलिरहेको छ ।

गृह पृष्ठ

किशोरी हत्या प्रकरण: प्रदर्शनकारीमाथि गोली

१० जनाभन्दा बढी घाइते
साँझ ५ देखि बिहान ५ बजेसम्म कफ्र्यु, कफ्र्युको पनि अवज्ञा
- चित्रांग थापा,भवानी भट्ट
किशोरी हत्या तथा बलात्कार घटनाका दोषीलाई कारबाही माग्दै बिहीबार कञ्चनपुरको महेन्द्रनगर बजारमा आन्दोलनमा उत्रिएका स्थानीयलाई रोक्ने प्रयासमा प्रहरी । तस्बिर : कान्तिपुर

कञ्चनपुर– भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्याको घटनामा प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि बिहीबार प्रहरीले गोली चलाउँदा कम्तीमा १० जना घाइते भएका छन् ।


ट्राफिक प्रहरी कार्यालय नजिकै भएको झडपमा प्रहरीले गोली चलाउँदा ६ प्रदर्शनकारी र ४ प्रहरी घाइते भएको डीएसपी ज्ञानबहादुर सेठीले जनाए । उनका अनुसार प्रदर्शनकारीतर्फ तेजराज भट्ट र प्रहरीतर्फ हर्कबहादुर पाल गम्भीर घाइते छन् । दुवैको धनगढीस्थित सेती अञ्चल अस्पतालमा र अन्यको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीतर्फ भीमदत्त नगरपालिका १८ का अर्जुन भण्डारी, तीर्थप्रसाद पनेरु र कैलालीका सन्तोषकुमार कडरिया घाइते छन् ।


प्रहरीले सोमबार भीमदत्त २, बाग्फाटाका ४१ वर्षीय दिलीप विष्टलाई किशोरी हत्याको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेपछि आन्दोलन चर्किएको हो । मंगलबारदेखि नै महेन्द्रनगर बजारका ठाउँ–ठाउँमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । प्रदर्शनकारीले बिहीबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत वेदकोट नगरपालिकाको सुडा, लालपुर र भीमदत्त नगरपालिकाको भासी चोकमा टायर बालेका थिए ।


राजमार्गकेन्द्रित आन्दोलन महेन्द्रनगर बजारतिर सार्न लाग्दा प्रहरीसँग झडप भएको हो । जिल्ला ट्राफिक कार्यालयभित्र आन्दोलनकारी पस्न खोज्दा प्रहरीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । जुलुस प्रदर्शन गर्दै अगाडि बढिरहेको अवस्थामा प्रहरीले रोक्न खोज्दा झडप भएको प्रदर्शनकारीले बताए । ‘दुवै पक्षबीच ढुंगा हानाहान भयो, प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो र करिब ५० राउन्ड गोली चलायो,’ एक प्रदर्शनकारीले भने । डीएसपी सेठीले सयौं सेल अश्रुग्यास प्रहार भएको तर फायर कति भयो भन्ने विवरण आइनसकेको जनाए । प्रहरीले गोली चलाएपछि पनि महेन्द्रनगर बजारका ठाउँ–ठाउँमा झडप भयो । मुख्य बजार क्षेत्र मदन चोक, पार्क चोक, बसपार्कलगायत ठाउँमा प्रहरीले थुप्रै अश्रुग्यास प्रहार गरेको थियो ।


प्रहरीले कफ्र्य‘को माइकिङ गरिरहँदा पनि आन्दोलनकारी हटेका थिएनन् । उनीहरूले भीमदत्त नगरपालिका कार्यालयमा तोडफोड र आगजनी प्रयास गरेको प्रहरीको दाबी छ । सुरक्षाको स्थिति बिग्रँदै गएपछि प्रशासनले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म महेन्द्रनगर बजार क्षेत्रमा कफ्र्यु लगाएको छ ।

 


प्रजिअ, एसपी र डीएसपी फेरिए
काठमाडौं (कास)– कञ्चनपुरमा बलात्कारपछि हत्याको घटनामा प्रदर्शनले उग्र रूप लिएपछि गृह मन्त्रालयले बिहीबारै त्यहाँका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेठीलाई राजधानी तानेको छ ।


घटनाको सूक्ष्म अनुसन्धान गर्न नसकेको भन्दै उनीहरूप्रति पीडित परिवार र स्थानीय आक्रोशित थिए । साउन १० गते नै बेपत्ता छोरी पत्ता लगाउन परिवारले हारगुहार गर्दा बेवास्ता गरेको, घटनास्थलमा शवको मुचुल्का बनाइसकेपछि अलपत्र छोडेको, जबर्जस्ती दाहसंस्कार गराएको र शंकास्पदलाई अनुसन्धान दायरामा नल्याएको पीडितको आरोप छ ।
आन्दोलनकारीले सुरुदेखि नै एसपी विष्ट अनुसन्धानलाई अन्यत्र मोडेर वास्तविक अपराधी जोगाउन लागिपरेको आरोप लगाउँदै आएका थिए ।


बलात्कारपछि हत्या गरिएकी किशोरी आफूसँगै पढ्ने रोशनी बमको घरमा गएको अवस्थामा बेपत्ता भएकाले घटनाको अनुसन्धान पनि त्यही घरबाट हुनुपर्छ भन्ने किशोरीका बुबालगायत स्थानीयवासीको माग थियो । ‘तर एसपी विष्ट रोशनी दिदीबहिनीलाई जोगाउन लागिपरे, हामीलाई दिनहुँ धम्क्याउन थाले,’ किशोरीका बुबाले भने, ‘न्याय पाउने कुरा त परै जाओस्, प्रहरी प्रमुखबाट डर, त्रास र धम्की मात्रै पाएँ ।’


प्रशासन र प्रहरी प्रमुखमा नयाँ पठाइए यसैबीच गृह मन्त्रालयले कञ्चनपुरको प्रजिअमा सहसचिव तारानाथ अधिकारी, जिल्ला प्रहरी प्रमुखमा एसपी कुवेरसिंह कठायत र डीएसपी कृष्णराज ओझालाई पठाएको छ । उनीहरू तीनै जना शुक्रबार कञ्चनपुर पुगेर जिम्मेवारी सम्हाल्ने र घटनाको छानबिन थाल्ने मन्त्रालयले जनाएको छ । प्रदेश ७ को संघीय
इकाई कार्यालय धनगढीबाट वरिष्ठ प्रहरी उपरीक्षक विक्रमबहादुर चन्द घटनाको अनुसन्धान प्रक्रिया र सुरक्षास्थितिमा समन्वय गर्न बिहीबारै महेन्द्रनगर पुगेका छन् ।

 

गृहले बनायो छानबिन समिति
काठमाडौं (कास)– किशोरीको बलात्कारपछि हत्या घटना अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय समिति बनाएको हो । गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार समितिमा प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका एक/एक डीआईजी र प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि सदस्य छन् ।


यसैबीच सांसदहरूले कञ्चनपुरमा किशोरीमाथि बलात्कारपछि हत्या घटना छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । ‘सडकबाट फलानो बलात्कारी हो भनेर अपराधी घोषणा भइरहेको छ । आन्दोलनले दोषी पत्ता लगाउने होइन,’ प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद दीपक भट्टले भने, ‘कञ्चनपुर घटनामा संसदीय छानबिन समिति बनाउनुपर्छ ।’


सांसद रंगमती शाहीले पीडितले दोषीलाई कारबाही माग गर्दा उनीहरूमाथि नै दमन भएको बताइन् । सांसद रामबहादुर विष्टले दोषी पत्ता लगाउन सरकार असफल भएको बताए । सांसद मीना पाण्डेले अभियुक्त जोगाउने प्रयास भइरहेको भन्दै बलात्कार र हत्याजस्तो जघन्य अपराधलाई राजनीतीकरण नगरी निष्पक्ष छानबिन गर्न माग गरिन् । मीनबहादुर विश्वकर्माले दोषीलाई कारबाही दायरामा ल्याउनु साटो सुस्त मनस्थितिका व्यक्तिलाई अभियुक्त बनाई जनतालाई ढाँटिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद राधा ज्ञवालीले नाबालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने गरी संविधान संशोधन गर्नुपर्ने बताइन् ।


यसैबीच कांग्रेस नेता रमेश लेखकले आन्दोलनकारीमाथि दमन रोकेर तत्काल वास्तविक अपराधी पत्ता लगाउन र घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् ।

गृह पृष्ठ

बन्द समाजतर्फ धकेलिने संशय

गोपनीयतासम्बन्धी विधेयक
गोपनीयताको हक सार्वजनिक पदधारी व्यक्तिको उपयोगका लागि होइन : प्रमुख सूचना आयुक्त सार्वजनिक पदधारी व्यक्तिको हरेक क्रियाकलाप आलोचनाको विषय बन्न सक्छ : संविधानविद्
- राजेश मिश्र

काठमाडौं
-०४६ सालयता प्रधानमन्त्री तथा मन्त्रीहरूले पदमा बहाल भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका छन् । तर, सरकारले संसद्मा पेस गरेको वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुबहु पारित भए मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्न रोक लाग्नेछ । विधेयकको दफा १० (३) मा सम्बन्धित व्यक्तिको मञ्जुरीबिना व्यक्तिको सम्पत्ति विवरण कसैलाई जानकारी दिन वा सार्वजनिक गराउन नपाउने प्रावधान छ ।


-पत्रकार मात्रै होइन, आममानिस पनि सार्वजनिक स्थलमा बिनारोकतोक तस्बिर खिच्न, सञ्चार माध्यममा प्रकाशन/प्रसारण गर्न वा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न अभ्यस्त छन् । पछिल्लो विधेयकले त्यस्ता तस्बिर खिच्न निरुत्साहित गरेको छ । विधेयकको दफा १६ (२) मा सार्वजनिक ठाउँको तस्बिर खिच्दा कुनै व्यक्तिको समेत तस्बिर खिचिन गएमा मञ्जुरीबिना प्रकाशन वा सार्वजनिक गर्न/गराउन नहुने उल्लेख ।


-पदमै बहाल रहेका बेला एकजना पूर्वप्रधानन्यायाधीश र कामु प्रधानन्यायाधीशको शैक्षिक योग्यतासम्बन्धी विषय मिडियामा सार्वजनिक भए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तको योग्यतामाथि मिडियामा खुला छलफल नै भयो । त्यही छलफलका कारण उनीहरूको पद धरापमा पर्‍यो ।

 

सार्वजनिक पद धारण गरेका व्यक्तिको योग्यताबारे समाजमा खुला बहस हुँदै आएको छ । तर, प्रस्तावित विधयेक कानुन बनेर आए त्यस्ता प्रश्न, बहस र छलफल रोकिन सक्छ । संसदमा पेस भएको विधेयकको दफा ११ (३) मा सार्वजनिक निकायमा रहेको कुनै पनि व्यक्तिको वैयक्तिक लिखत कसैले सार्वजनिक गर्न वा गराउन नहुने प्रावधान छ । वैयक्तिक लिखतमा शैक्षिक प्रमाणपत्र, नागरिकता, सवारीचालक अनुमतिपत्र, बैंक खाता, लालपुर्जा, सवारी साधनलगायत राखिएको छ ।


२०४६ मा प्रजातन्त्र पुन:स्थापनापछि नेपाली समाजले खुलापनको अभ्यास थालेको थियो । खुलापनको त्यही अभ्यासका कारण तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ सालमा प्रयास गरेको निरंकुशताको अभ्यास लामो समय टिक्न सकेन । ०६२/०६३ को जनआन्दोलनपछि खुलापनको अभ्यासले थप गति लियो । भदौ १ गतेदेखि कार्यान्वयनमा आएको फौजदारी संहिताका केही दफामाथि प्रश्न उठिरहेकै बेला सरकारले संसद्मा पेस गरेको वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले खुलापनका विषयमा थप संशय पैदा गरेको छ ।


लोकतन्त्रमा सरकारका कामकारबाही खुला र पारदर्शी हुनुका साथै सार्वजनिक महत्त्वका सूचनामा आमनागरिकको सहज पहुँच हुनुपर्छ । त्यही मान्यताअनुरूप संविधानको धारा २७ मा सूचनाको हकलाई मौलिक हकका रूपमा राखिएको छ । अर्कोतिर वैयक्तिक गोपनीयता पनि मौलिक हकमै समावेश छ । धारा २८ मा गोपनीयताको हकसम्बन्धी व्यवस्था छ । कुनै व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषय गोपनीयताको हकमा पर्छन् ।


सूचनाको हकलाई आममानिसले व्यवहारमा अभ्यास गरेको दशकौं भइसकेको छ । आममानिसलाई सार्वजनिक सूचनामा पहुँच हुने प्रवाधानसहित सूचनाको हकको कानुन २०६४ सालबाटै कार्यान्वयनमा छ । त्यसको एक दशकपछि ल्याउन लागिएको गोपनीयताको हकसम्बन्धी कानुनले सूचना माग्ने र दिने अभ्यासलाई निरुत्साहित गर्ने देखिएको छ ।
सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले संविधानले आममानिसलाई ७ प्रकारका व्यक्तिगत गोपनीयताको हक दिए पनि राज्य र राज्यका पदाधिकारी, सार्वजनिक निकाय र त्यसका पदाधिकारीको हकमा त्यो उपयोग गर्न नमिल्ने बताए । ‘सार्वजनिक निकाय र सार्वजनिक पदाधिकारीले गरेको काम स्वत: सार्वजनिक चासो र महत्त्वका हुन्छन्,’ उनले भने, ‘गोपनीयताको हक उनीहरूका लागि लागू गर्न मिल्दैन ।’ उनले लोकतान्त्रिक पद्धतिमा सार्वजनिक पदाधिकारीले गोपनीयताको शपथग्रहण गर्ने तथा सरकारी चिठीपत्रमा गोप्य, अति गोप्यको छाप लगाउनेजस्ता चलन पनि गलत भएको बताए ।


विधेयकमा भने त्यसविपरीत चिठीपत्र र विद्युतीय माध्यमका पत्राचारलाई थप गोप्य बनाउनुपर्ने प्रावधान राखिएको छ । संविधानले व्यक्तिको चरित्रसम्बन्धी विषयलाई गोपनीय मानेको छ । त्यसअनुसार ल्याउन खोजिएको कानुनमा पनि कुनै व्यक्तिको चरित्र, आचरण वा व्यवहारका सम्बन्धमा कसैले कुनै टीकाटिप्पणी गर्न नहुने प्रावधान छ । विधेयकले हुबहु कानुनी रूप पाए सार्वजनिक पदधारी व्यक्तिका चरित्र, आचरण वा व्यवहारमाथि प्रश्न उठाउन पाइनेछैन ।


संविधानविद् भीमार्जुन आचार्यले सार्वजनिक पदधारी व्यक्तिका हरेक क्रियाकलाप सार्वजनिक छलफल र मिडियामा आलोचनाको विषय बन्न पाउने बताए । ‘आममानिसको व्यक्तिगत विषयलाई धेरै हदसम्म गोप्य नै मानिन्छ, बिनाकारण सार्वजनिक गरिनु स्वस्थ मानिँदैन,’ उनले भने, ‘तर सार्वजनिक पदमा बसेका व्यक्तिको गोपनीयता र निजी जीवन धेरै कम हुन्छ । उसको व्यैक्तिक र सार्वजनिक दुवै कामले आममानिसलाई प्रभाव पारेको हुन्छ । त्यसलाई नै गोप्य राख्न खोजेको हो भने त्योभन्दा अपारदर्शी र बन्द समाजको अर्को नमुना खोज्नै पर्दैन ।’ विधेयकले खुलापनको अभ्यासलाई बन्द समाजतिर धकेल्न खोजिएको हो कि भन्ने शंकालाई ठाउँ दिएको उनले बताए ।


सूचनाको हकसम्बन्धी ऐनले सार्वभौमसत्तामै गम्भीर खलल पर्ने, मुद्दा अनुसन्धानमा दक्खल पर्ने, आर्थिक रूपमा गोपनीय विषय, जातीय सदभाव भडकिने र नितान्त व्यक्तिगत विषयमा मात्रै सूचना प्रवाहमा रोक लगाउन सकिने भनेको छ । प्रमुख आयुक्त बाँस्कोटाले बाध्य हुन नपर्ने पाँच प्रकारका सूचनाबाहेक अन्य सूचना प्रवाहमा नियन्त्रण हुने गरी ल्याइने कुनै पनि कानुन आयोगलाई स्वीकार्य नहुने बताए । सूचनाको हकसँग बाझिने गरी अहिले पनि केही प्रावधान रहेकाले सुधार गरिनुपर्ने उनको भनाइ छ ।


संविधानविद् आचार्यले राज्य तथा संसद्ले गोपनीयताको हक, सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकबीचमा सन्तुलन ल्याएर मात्रै कानुन बनाउनुपर्ने बताए । ‘लामो संघर्षपछि व्यक्तिको अभिव्यक्ति तथा प्रेस स्वन्त्रताको संवैधानिक ग्यारेन्टी भएको हो,’ उनले भने, ‘त्यसमा कटौती प्रयास भएको देखिन्छ । विधेयकका दफाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामा संकुचन ल्याउन खोजेको छ जुन संविधानको मूल भावनाविपरीत हो ।’

गृह पृष्ठ

पहिले हात्ती सयर अहिले सिटी रिक्सा

- विनोद भण्डारी
सिटी रिक्सा कुदाउँदै मोरङको रंगेलीकी राजकुमारी राजवंशी ।तस्बिर : विनोद

रंगेली (मोरङ)– राजकुमारी राजवंशी कुनै बेला हात्ती चढेर माइत पुग्थिन् । उबेला जमिनदारकी छोरी अनि जमिनदारकै बुहारी रहेकी उनलाई माइत आउजाउ गर्न दुई किलोमिटर टाढा रहेको पतिको घरबाट हात्ती पुग्थ्यो ।


समयक्रमले उनलाई हात्तीबाट ‘सिटी रिक्सा’ मा पुर्‍याएको छ । अचेल दुई सन्तानको हातमुख जोड्न रंगेलीका कच्ची सडकमा उनी दिनभर सिटी रिक्सा कुदाउँछिन् । उनको बासचाहिँ पतिको परिवार जमिनदार हुँदा २०२५ सालमा बनाइएको हालको रंगेली ६ मा पर्ने पुरानो विशाल घरमै छ ।


२०४९ वैशाख २५ गते विवाह गरेकी राजकुमारी दुई सातापछि घरमा भएको बहादुर नामको हात्तीमा चढेर दर्वेशास्थित माइत गएकी थिइन् । त्यसबेला उनले आफ्ना नन्दहरू ममता, गीता र वसन्तीलाई पनि सँगै लगेकी थिइन् । दुई दिनपछि हात्तीमै फर्केको उनले सुनाइन् ।


त्यसै साल फागुनमा उनको जेठो छोरा भवेशको जन्म भयो । उनलाई पनि पहिलोपटक हात्तीमै राखेर मामा घर लिएर गएको राजकुमारी सम्झन्छिन् । पछि हात्ती पाल्न समस्या भएपछि ससुरा खेमराजले २०५३ सालमा भारत सीतामढीका एक व्यक्तिलाई साढे तीन लाखमा बेचेको उनले बताइन् ।
वैवाहिक जीवनको सुरुवातमा साँच्चिकै ‘राजकुमारी’ झैं सुविधाभोग गरेकी उनले दुई वर्षअघि परिवारको गुजारा चलाउन सिटी रिक्सा चलाउन थालेकी हुन् । पति शिवराज साथ छाडेर अन्यत्र बस्दै आएका छन् ।


‘परिवारको गुजाराका लागि सिटी रिक्सा कुदाउँदा मेरा पतिको बेइज्जती भयो अरे,’ राजकुमारीले भनिन्, ‘त्यसैले मसँग सम्बन्धविच्छेद माग गर्दै अन्यत्र बस्दै आएका छन् ।’
परिवार टाट उल्टेर घरमा बिहान–बेलुका चुलो धुवाँउन पनि छाडेको थियो । पतिले कमाइ पनि नगर्ने भएकाले आफूले सिटी रिक्सा चलाउन थालेको उनले बताइन् । ‘अहिले मेरो केही नभए पनि म अहिले पनि मनको जमिनदार हुँ,’ शिवराजले भने, ‘श्रीमतीले सिटी रिक्सा चलाउन थालेपछि मेरो इज्जत सडकमा पुग्यो, त्यसैले छाडेर बेग्लै बस्दै आएको हुँ ।’
उनीहरूलाई सँगै बस्न स्थानीय महिला समूहले आग्रह गरेका थिए । तर शिवराजले पत्नीले सिटी रिक्सा कुदाएकै कारण सम्बन्धविच्छेद गर्ने अडान लिएपछि सम्भव नभएको प्रगतिशील नगर महिला सञ्जालकी अध्यक्ष पुनम सापकोटाले बताइन् । ‘शिवराज कुनै समयका जमिनदार नै थिए तर अहिले उनको केही पनि छैन,’ उनले भनिन्, ‘परिवारको गुजारा चलाउन राजकुमारीले सिटी रिक्सा चलाउँदा उनले आफ्नो इज्जत गएको भन्दै घरै छाड्नु र सम्बन्धविच्छेद गर्न दबाब दिनु अनुचित हो ।’


राजकुमारी तत्कालीन दर्वेशा गाविसका जमिनदार करमचन राजवंशीकी छोरी र रंगेलीका अर्का जमिनदार खेमराज राजवंशीकी बुहारी हुन् । ‘म २०४९ सालमा यो घरमा बुहारी भएर भित्रँदा ससुराको नाममा करिब ३० बिघा जमिन र घरमा हात्ती थियो,’ राजकुमारीले भनिन्, ‘अहिले आफू बुहारी भएर भित्रिएको पुरानो हबेली घरले चर्चेको रंगेली ६ मा १७ धुर जमिन र सुनवर्षी नगरपालिका ८ कुडेलीमा ५ कट्ठा जमिनबाहेक केही पनि छैन ।’ उनका अनुसार ससुराहरू छुट्टिँदा सुन र चाँदी तराजुमा जोखेर बाँडफाँट गरेका थिए ।


भएको जमिन सबै बिक्री गर्दै मोजमस्ती गरेर सिध्याएको उनको भनाइ छ । ‘घरको गर्जो टार्नैका लागि आफू तीनपटक वैदेशिक रोजगारीका लागि विदेश पनि गएँ । त्यहाँबाट पठाएको रकमसमेत मोजमस्तीमै सिध्याएछन्,’ उनले भनिन् ।


२०६३ सालमा कुवेत गएर दुई वर्ष बसेकी थिइन् । त्यहाँबाट पठाएको साढे ३ लाख श्रीमान्लाई पठाए पनि सबै मोजमस्तीमा सकेको उनले बताइन् । २०६६ मा फेरि साउदी गइन् । त्यहाँको कमाइ पनि सुरक्षित हुन पाएन । त्यसपछि पतिलाई सँगै लिएर भारत गएको उनले सुनाइन् । ‘मदिरा खाने लत भएका उनी त्यहाँबाट भागेर आएपछि म पनि फर्किएँ,’ उनले भनिन्, ‘केही गर्दा साध्य नभएपछि सिटी रिक्सा चलाएर परिवारको गुजारा चलाउन थालेकी हुँ ।’ राजकुमारीले २ लाख ३५ हजार ऋण लिएर सिटी रिक्सा चलाएकी हुन् । २८ हजार ऋण तिर्न बाँकी रहेको उनले बताइन् ।

Page 2
समाचार

मलेसियासँग श्रम सम्झौता हुँदै

बायोमेट्रिक, स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरूले उठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्ने छैन ।
- दुर्गा खनाल

काठमाडौं– मलेसियामा सहज रूपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ । अब मलेसिया कामदार पठाउने प्रक्रियामा बिचौलिया कम्पनी र एजेन्टहरूले प्रवेश गर्न पाउनेछैनन् । बायोमेट्रिक, स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरूले उठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्नेछैन ।


नेपालीको प्रमुख श्रम गन्तव्य मानिने मलेसिया जाँदा ‘बिचौलिया कम्पनी तथा एजेन्टहरू’ ले कामदारबाट आफूखुसी शुल्क लिएर ठग्दै आएका थिए । जेठ २ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले तत्काल मलेसिया कामदार पठाउन रोक लगाउँदै ठगी गर्ने कम्पनी खारेज र कारबाही प्रक्रिया अघि बढाएका थिए ।


अतिरिक्त शुल्क लिने कम्पनी खारेज गर्दै नेपालले कामदार पठाउन रोकेपछि मलेसिया सरकारले चासो दिएको थियो । त्यसपछि दुई मुलुकबीच सहज रूपमा कामदार आदानप्रदान गर्न भइरहेको अनौपचारिक छलफल करिब निष्कर्षमा पुगेको छ । बिचौलिया एजेन्ट र कम्पनीलाई कामदार पठाउने प्रक्रियामा संलग्न हुन नदिने गरी मलेसिया सरकार श्रमसमझदारी गर्न तयार भएको छ ।


यससम्बन्धी समझदारीको प्रारम्भिक प्रस्ताव मलेसियाले नेपाल सरकारलाई पठाइसकेको श्रम मन्त्रालयका अधिकारीले जनाएका छन् । प्रस्तावमा नेपालले सुझाव दिएपछि समझदारी हुनेछ । समझदारीको तयारीका लागि मलेसियास्थित नेपाली कार्यवाहक राजदूत कुमारराज खरेल स्वदेश आएका छन् । मन्त्री विष्टसहित श्रम र परराष्ट्रका अधिकारीबीच छलफल भइरहेको छ । ‘दुईपक्षीय श्रम समस्याबारे छलफल गर्न नै आएको हुँ । अनौपचारिक रूपमा छलफल भइरहेको छ,’ खरेलले भने । नेपालले आफ्नो प्रस्ताव पठाएपछि मलेसियन मानव संसाधनमन्त्री एम कुलसेगरन नै नेपाल आएर समझदारी गर्ने तयारी भएको श्रम मन्त्रालयका अधिकारीले जनाएका छन् ।


मलेसियन सरकारले भिसा शुल्कबापत ७ सय मात्र तोके पनि बिचौलिया कम्पनी र एजेन्टहरूले बायोमेट्रिक प्रणालीका नाममा ४ हजार ५ सय, स्वास्थ्य परीक्षण गर्न सफ्टवेयरमा नाम दर्ता गर्ने ‘माइग्राम’का नाममा ३ हजार ४ सय लिने गरेका थिए । त्यस्तै, पासपोर्ट संकलन गरी नेपालस्थित मलेसियन राजदूतावाससम्म पुर्‍याउने प्रयोजनका लागि ‘वान स्टप सेन्टर’का नाममा २ हजार ८ सय, इमिग्रेसन सेक्युरिटी क्लियरेन्सका नाममा ३ हजार २ सय तथा भिसा प्रेसेसिङबापत ‘भीएलएन’का नाममा ३ हजार २ सय गरी प्रतिकामदार १९ हजार ३ सय ३२ रुपैयाँ (भ्याटसहित) का दरले असुलेका थिए ।


स्वास्थ्य परीक्षण गर्ने ३९ कम्पनीले सिन्डिकेट खडा गरी शुल्क उठाउँदै आएका थिए । अतिरिक्त शुल्क लिई गैरकानुनी काम गर्ने त्यस्ता ३४ संस्थाका ४४ जना उपर प्रहरीले ३ अर्ब १० करोड ५५ लाख बराबारको बिगोसहित अदालतमा मुद्दा दायर गरेको छ । हाल उक्त मुद्दा विचाराधीन छ ।


बिचौलिया एजेन्ट र कम्पनीहरू मलेसियाबाट कामदार मगाउने रोजगारदाता कम्पनीहरूको समेत संरक्षणमा हुर्केका थिए । अब नयाँ सम्झौताअनुसार रोजगारदाता कम्पनी र कामदार पठाउने म्यानपावर कम्पनीबीच सम्झौता हुने र उनीहरूले बिनाशुल्क सबै प्रक्रिया पूरा गरी कामदार लिनु–दिनुपर्नेछ । मलेसियाका रोजगारदाता र नेपालमा म्यानपावर कम्पनीको अनुगमन सम्बन्धित मुलुकका सरकारले गर्नेछन् । मलेसियामा नेपाली कामदार भर पर्दा मानिन्छन् तर नेपाल सरकारले रोजगारदाता कम्पनीकै संलग्नतामा बिचौलिया कम्पनी र एजेन्ट खडा गरेर नेपाली कामदारमाथि ठगी भएको भन्दै एकतर्फी रूपमा कामदार पठाउन रोक लगाएको थियो । त्यसपछि मलेसियाको संसद्मा आफ्नै मुलुकका कम्पनीहरूका कारण नेपालीमाथि ठगी भएको कुरा उठेको थियो ।


मलेसियन सञ्चार माध्यमले पनि नेपाली कामदारबाट अबैध रकम असुली भइरहेको समाचार प्रकाशित गरेका थिए । त्यसपछि त्यहाँका मानव संसाधनमन्त्री एम कुलसेगरनले संसद्मा जवाफ दिने क्रममा नेपाली कामदार नआएको विषयमा ध्यानाकर्षण भएको जनाएका थिए । संसद्मा कुरा उठेपछि मन्त्री कुलसेगरले नै श्रममन्त्री विष्टसँग द्विपक्षीय समझदारीको पहल गरेका थिए ।


एक साताअघि मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पनि नेपाली कामदारका विषयमा बोल्दै अब दुईपक्षीय सम्झौता गरिने जानकारी संसद्लाई दिएका थिए । मोहम्मदले नेपालसँग एकद्वार प्रणालीका आधारमा कामदार आपूर्ति गर्ने बताएका थिए । उनले बंगलादेशसँगको जस्तै ‘जी टु जी’ अर्थात् सरकार–सरकारबीचको मोडलबाट कामदार आपूर्ति गर्ने संकेत दिए पनि अब हुने सम्झौता त्यो मोडलको होइन । अहिले रोजगारदाता र कामदार आपूर्ति गर्ने कम्पनी बीचबाटै कामदार आदानप्रदान हुनेछ । पछि ‘जी टु जी मोडलमा विस्तार गर्न सकिने गरी दुई पक्षका अधिकारीबीच कुराकानी भइरहेको श्रम मन्त्रालयका उच्च अधिकारीले जनाए ।


हाल नेपालले दक्षिण कोरियासँग मात्र ‘जी टु जी’ मोडलमा कामदार आपूर्ति सम्झौता गरेको छ । यो सम्झौताअनुसार कोरियन भाषा परीक्षा पास गरेकालाई त्यहाँको सरकारले निश्चित कोटामा नेपाली कामदार लिने गर्छ । दुईपक्षीय समझदारी क्रममा मलेसिया सरकारले अन्य मुलुकका कामदारलाई जस्तै नेपाली कामदारलाई पनि समान ज्यालाको व्यवस्था गर्न नेपाली अधिकारीले प्रस्ताव गरेका छन् । हाल मलेसियामा नेपाली कामदारले न्यूनतम १ हजार रिंगेट बराबर तलब पाउँदै आएका छन् । अब यो रकमलाई कम्तीमा १५ सय पुर्‍याउन पहल भइरहेको छ ।

Page 3
समाचार

कांग्रेसको विधान समिति गठन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान संशोधनका लागि बिहीबार मस्यौदा समिति गठन गरेका छन् । विधान मस्यौदा समिति गठन गर्न ढिलाइ गरेर महासमिति बैठक सार्न खोजेको भन्दै संस्थापनइतर पक्षले असन्तुष्टि जनाइरहेका बेला सभापति देउवाले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेका हुन् ।
संघीय संरचनाअनुसार पार्टीको संगठनात्मक संरचनालाई रूपान्तरण गर्न केन्द्रीय कार्यसमितिको वैशाख ६ को बैठकले पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) लाई संशोधन गर्न मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो । समितिमा संस्थापन पक्षबाट संयोजकसहित ७ र संस्थापनइतर पक्षबाट ४ सदस्य छन् । समिति सदस्यमा मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्र बडु, महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक छन् ।


भदौमा महासमिति नभए देउवाको नेतृत्व असफल हुने भनी संस्थापनइतर पक्षीय नेताले चेतावनी दिइरहेका बेला सभापतिनिकट केन्द्रीय सदस्यहरूले तोकिएकै समयमा महासमिति बैठक गर्न सुझाएका छन् । वैशाख १६ को केन्द्रीय कार्यसमिति बैठकले भदौभित्र महासमिति गर्ने निर्णय गरेको थियो ।


सभापति देउवाले आफूनिकट सदस्यसँग बिहीबार बूढानीलकण्ठस्थित निवासमा परामर्श गरेका थिए । अधिकांश सदस्यले भदौमा महासमिति बैठक नगर्दा गलत सन्देश जाने भन्दै विधान चाँडो टुंग्याएर तोकिएकै समयमा महासमिति बैठक गर्न सुझाव दिएका थिए । ‘अब भदौ अन्तिम साताभित्रै महासमिति बैठक गर्ने मनस्थितिमा सभापति हुनुहुन्छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको तिथि र स्थान तोक्नेबारे छलफल भएको छ ।’ सभापति देउवाले अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समिति पनि बनाउने तयारी गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले यी दुवै समितिमा रहनेको नाम पठाउने भएपछि समिति गठन गर्ने तयारीमा देउवा पुगेका हुन् ।

समाचार

तरकारीमा सिन्डिकेट: बलिया व्यवसायी, निरीह सरकार

अनुगमन टोलीमाथि आक्रमणलगत्तै सरकारी निकायले कारबाहीको चर्को स्वर गरे पनि अन्तत: राजनीतिक आडमा उन्मुक्ति नै पाउँछन् ।
- राजु चौधरी
कालिमाटी तरकारी बजार । तस्बिर : इलिट जोशी

काठमाडौं– सरकारी अनुगमन टोलीलाई गत सोमबार कालीमाटी तरकारी बजार अनुगमन गर्दा व्यवसायीले नियन्त्रणमा लिए । अनुगमनको विरोधमा व्यवसायीले भोलिपल्ट तरकारी बिक्री ठप्प पारे । व्यवसायीले अनुगमन टोलीमाथि गरेको यो दुव्र्यवहार पहिलो घटना हैन ।


दुई वर्षअघि तत्कालीन आपूर्तिमन्त्री गणेश पुनको नेतृत्वमा बल्खु तरकारी बजारमा अनुगमन गर्दा यस्तै भएको थियो । ढक तराजुहरू प्रमाणित नगरी प्रयोग गरेको भेटिएपछि कारबाही गर्न खोज्दा अनुगमन टोली र व्यापारीबीच झडप नै भएको थियो । नापतौल विभागबाट प्रमाणित नगरिएका ढक तराजु उठाएपछि व्यापारीहरूले आक्रमण पनि गरे । एक दशकअघि बानेश्वर तरकारी बजारमा अनुगमन गर्दा व्यवसायीले अनुगमन निरीक्षण अधिकृत ईश्वर बस्नेतलाई कुटपिट नै गरे । बस्नेतलगायतको टोली ज्यान जोगाउन सवारी साधन नै छाडेर भाग्नुपरेको थियो । व्यवसायीले ढक तराजु बिगारेर कारोबार गरेको पाइए सिलबन्दी गर्ने तयारी गर्दा अनुगमन टोलीमाथि व्यवसायीले आक्रमण गरेका थिए ।


यी घटनाहरू अनुगमनका केही उदहारण मात्रै हुन् । सरकारले अनुगमन क्रममा कैफियत भेटिएका व्यवसायीलाई कारबाही गर्न खोज्दा अनुगमन टोली नै उल्टै आक्रमणमा परेका दर्जनौं उदाहरण छन् । अनुगमन टोलीमाथि आक्रमणलगत्तै सरकारी निकायले कारबाहीको चर्को स्वर गर्ने गरे पनि अन्तत: राजनीतिक आडमा उन्मुक्ति नै पाउँछन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार अनुगमन टोलीमाथि आक्रमण गर्ने कुनै पनि व्यवसायीलाई हालसम्म कारबाही भएको उदाहरण छैन । औपचारिक रूपम प्रतिक्रिया दिन नचाहने सरकारी अधिकारीहरूका अनुसार अधिकांश घटनामा संलग्न व्यापारीहरू राजनीतिक आडमा कानुनी कारबाहीबाट उम्कने गरेका छन् । ‘जसले व्यवसायीमा गतल ढंगको उत्साह सिर्जना गरिदिन्छ,’ अनुगमनमा संलग्न एक अधिकारीको दाबी छ ।


‘अधिकांश व्यवसायीको ठूला दलका नेतासँग उठबस हुन्छ । विभिन्न पार्टीसँग नजिक छन्,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘त्यसको प्रतिफल अनुगमन टोलीमाथि नै आक्रमण हुन्छ ।’ अनुगमन क्रममा आक्रमणलगायत घटना भए पनि ती व्यवसायीलाई कारबाहीको दायरामा ल्याइएको छैन । सरकारले अनुगमनमा हिँड्ने टोलीलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउन सकेको छैन । सरकारी टोलीमाथि नै आक्रमण हुँदासमेत कारबाही नहुँदा राज्य विफल हुँदै गएको उपभोक्ताकर्मीहरू बताउँछन् । ‘अनुगमन टोलीलाई बन्धक बनाउने, कुटपिट गर्नेलाई कारबाहीको दायरामा ल्याउन सक्नुपथ्र्यो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘तर विगतको घटनामा कारबाही हुन सकेन । यसले अनुगमन टोलीलाई निरुत्साहित बनाउँछ ।’


यता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बिचौलियालाई कारबाहीको दायरामा ल्याउने दाबी गरे । ‘गडबड गर्ने, सरकारले अनुगमन गर्दा विरोध गर्नेलाई छुट हुँदैन,’ मन्त्री यादवले भने, ‘अनुगमनमा अवरोध गर्ने एक व्यवसायीलाई कारबाहीको प्रक्रिया बढाएका छौं । अन्यको पनि खोजी भइरहेको छ ।’ सबै क्षेत्रमा बेथिति रहेकाले सबै व्यवसायीलाई कारबाही गर्दा व्यवसायी राख्ने ठाउँ नहुने दाबी गरे । ‘पैसा कमाउने नाममा व्यवसायीले अपराध गरेका छन्,’ उनले भने, ‘गृह, कृषि मन्त्रालयसहितको टिमलाई तीव्र बनाएका छौं । बिचौलिया सबै हटाउँछौं । अनुगमन दीर्घकालीन रूपमा हुन्छ ।’


प्रतिवेदन दराजमै
सरकारले बिचौलियको अन्त गर्न यसअघि तयार पारेको अध्ययन प्रतिवेदन दराजमै थन्किएको छ । विभागका तत्कालीन निर्देशक निरज पौडेलको संयोजकत्वमा गठित अध्ययन टोलीले पाँचखाल, धादिङ, नुवाकोट र मकवानपुरका तरकारी उत्पादक, स्थानीय संकलक तथा व्यापारी, कालीमाटी बजारका व्यापारी, खुद्रा व्यापारीलगायतसँग अन्तरक्रियापश्चात् प्रतिवेदन तयार पारेको थियो । गत मंसिरमा तयार पारिएको प्रतिवेदनमा विभिन्न तहमा मूल्य तोकिँदा उपभोक्ता ठगिएको, बिचौलियाले किसान र उपभोक्तालाई मर्कामा पारेको प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदन आपूर्ति मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा बुझाए पनि कार्यान्वयन भएको छैन । प्रतिवेदनअनुसार कृषकदेखि उपभोक्तासम्म आइपुग्दा १ सय १८ प्रतिशतसम्म मूल्य परिवर्तन हुन्छ ।


किसान र उपभोक्ताबीचको मूल्यअन्तर घटाउन पार गर्नुपर्ने चरण घटाउनुपर्ने, कृषकले आफ्नो उत्पादनको बजार व्यवस्थापन आफैंले गर्न पाउने अवस्था सिर्जना गर्नका लागि कृषक सहकारीको आफ्नै स्टल तरकारी बिक्री केन्द्रमा रहने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको थियो । किसानलाई स्थानीय व्यापारी तथा मध्यस्थकर्ताको चंगुलबाट स्वतन्त्र राख्नका लागि सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने, बीउविजन विषादीको सहज उपलब्ध हुने व्यवस्था मिलाउनुपर्ने, मूल्य निर्धारण प्रक्रियामा सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गरी बिचौलियाहरूले मनोमानी रूपमा मूल्य तोक्ने परिपाटी अन्त्य गर्नुपर्ने सिफारिस गरेको थियो ।


कालीमाटी समिति खारेज गर्न माग
उपभोक्ता अधिकारकर्मीहरूले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति नै खारेज गर्नुपर्ने माग गरेका छन् । समितिले स्टल भाडा उठाउनेबाहेक अन्य काम नगरेको जनाउँदै उनीहरूले तत्काल खारेज गरी किसान, उपभोक्ता, व्यवसायी र सरकारसहितको मोडलमा सञ्चालन गर्नुपर्ने माग गरेका हुन् । उनीहरूले प्रधानमन्त्री कार्यालय, आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयमा ज्ञापनपत्र बुझाएर बजार व्यवस्थित गर्न माग गरेका हुन् ।


‘समितिले बिचौलियालाई प्रोत्साहनबाहेक केही गरेको छैन । समितिकै कर्मचारीको मिलेमतोमा किसान र उपभोक्ता ठगिएका छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘बिचौलियको अन्त गर्न समिति नै खारेज गर्नुपर्छ ।’ राष्ट्रिय उपभोक्ता मञ्चले जारी गरेको विज्ञप्तिमा पनि तत्काल विघटन गरी पब्लिक प्राइभेट पार्टनरसिप उद्यमका रूपमा विकास गरी सरकारको स्वामित्वसहितको कम्पनीमा रूपान्तरण गर्ने उल्लेख छ ।


तरकारी बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धायुक्त बनाउन अत्यन्त जरुरी भएको जनाएको छ । ‘कालीमाटी तरकारी तथा फलफूल विकास समितिभित्र भइरहेको व्यवस्थापकीय तथा व्यावसायिक बेथितिलाई निरुपण गर्न जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित मन्त्रालय तथा नियामक निकायलाई आवश्यक निर्देशन दिई उपभोक्ता हित रक्षाका लागि पहल गरिपाउन प्रधानमन्त्रीसँग माग गर्दछौं ।’

समाचार

प्रेसविरोधी कानुनमा आपत्ति

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नागरिक अभियन्ता डा. गोविन्द केसीले मुलुकी अपराध संहिताका चिकित्सा र प्रेसविरोधी प्रावधानप्रति आपत्ति जनाएका छन् । उनले यस्ता प्रावधानमा सुधार नगरिए नागरिकको स्वास्थ्यको अधिकार तथा अभिव्यक्ति र प्रेस स्वतन्त्रताजस्ता संविधानप्रदत्त अधिकार रक्षाका लागि जस्तोसुकै कदम उठाउन तयार रहेको समेत जनाएका छन् ।


डा. केसीले बिहीबार जारी गरेको विज्ञप्तिमा मुलुकी ऐन विस्थापित गर्ने कानुनमै प्रेस स्वतन्त्रताविरोधी अनेक बन्देज राखिएकामा चौतर्फी विरोध भइरहेको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सरकारले संविधानले परिकल्पना गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता नै कुण्ठित हुने गरी कथित गोपनीयतासम्बन्धी विधेयक ल्याउन लागेकामा मेरो गम्भीर आपत्ति छ । यसले सरकार पारदर्शिता कायम गर्ने कठिन तर सही बाटो छोडेर मिडियामाथि अनेकखाले अंकुश लगाएर भ्रष्टाचार, अपराध र निकम्मापन छोप्ने सजिलो तर गलत बाटो हिँड्न उद्यत भएको देखिन्छ ।’


डा. केसीले सरकारको रवैयाले कतै लोकतन्त्रका आधारस्तम्भ नै कमजोर पारेर अधिनायकवादी व्यवस्थातिर जान लागेको त होइन भन्ने प्रश्नसमेत उठेको बताएका छन् । ‘सुशासन र समृद्धिको सपना देखाएर सत्तामा पुगेको सरकार यति छिट्टै त्यो सपना बिर्सेर विरोध र असन्तुष्टिका आवाज रोक्न केन्द्रित हुनु ठूलो विडम्बना हो,’ उनले भनेका छन् ।


उनले हालको कानुनी व्यवस्थाले राज्यको प्राथमिकता चिकित्सक र स्वास्थ्यकर्मीको क्षमता बढाएर अधिकतम राम्रो उपचार दिने नभई कमजोरी वा लापरबाहीको आरोपपिच्छे मुद्दा–मामिलामा फसाउने र तीमध्ये धेरै अवस्थामा जेल पठाउने व्यवस्था गर्नु रहेको देखिएको आरोपसमेत लगाएका छन् । उपचारमा चित्त नबुझे बदनियतको आरोप लगाएर सिधै मुद्दा–मामिलामा जाने व्यवस्था गरिएको औंल्याउँदै डा. केसीले संहितामा लापरबाही वा बदनियत पुष्टि गर्ने निकाय वा मापदण्डसम्बन्धी व्यवस्था नै नभएको जनाएका छन् । ‘यसले स्वास्थ्यकर्मीको ध्यान उपचारभन्दा मुद्दा–मामिलातर्फ हुन्छ, स्वास्थ्यकर्मीले अलिकति पनि जोखिम लिएर उपचार गर्ने अवस्था रहँदैन,’ उनले भनेका छन् ।

समाचार

अपांगता भएकाले सुविधा पाएनन्

ऐन संशोधन नहुँदा परिचयपत्र वितरणसमेत ठप्प
- गणेश राई

काठमाडौं– ऐन संशोधन नहुँदा अपांगता भएका थुप्रै व्यक्ति परिचयपत्र पाउनबाट वञ्चित छन् । परिचयपत्र हुनेले पनि तोकिएको सेवा सुविधा पाएका छैनन् ।


सरकारले ‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ ल्याएको थियो । राज्य पुन:संरचनापछि अपांगता भएकाहरूको हेरविचार गर्ने महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयसमेत खुम्चिन पुगेको छ ।


अहिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय बनेको छ, जसमा ‘अपांगता अधिकार प्रवद्र्धन शाखा’ मात्र छ । २०७५/७६ को बजेटले अपांगता क्षेत्रलाई सम्बोधन गरे पनि अपांगता भएकाको सुविधाका लागि आवश्यक रकम विनियोजन गरिएको छैन । मन्त्रालयका अधिकारीले केन्द्रीय बजेट स्थानीय सरकारअन्तर्गत विनियोजन भएको दाबी गरेका
छन् । तर, स्थानीय तहबाट अपांगता भएकाले परिचयपत्रका आधारमा सुविधा पाएका छैनन् ।


ऐन संशोधन प्रक्रियामा रहेको तर सरोकारवाला पक्षसित समन्वय नभएको राष्ट्रिय अपांग महासंघले नेपालले जनाएको छ । सरकारले समाज कल्याण मन्त्रालयमार्फत अपांगता भएका व्यक्तिलाई शिक्षा, स्वास्थ्य, रोजगारी, स्वरोजगारमूलक तालिम, समुदायमा आधारित पुन:स्थापनासम्बन्धी कार्यक्रम, सहायक सामग्री निर्माण गरी उपलब्ध गराउने र सामाजिक सुरक्षा भत्ता दिने गरेको थियो । मन्त्रालयका अधिकारीले यसपटक केन्द्रीय बजेट घटेकाले अपांगता भएका व्यक्तिलाई दिइँदै आएको सुविधा दिन नसकेको दाबी गरेका छन् । ‘देश संघीयतामा गएकाले यसपटक अपांगता भएकाका निम्ति राष्ट्रिय बजेट घटेको छ, कतिपय शीर्षकमा बजेट शून्य छ,’ मन्त्रालयको अपांगता अधिकार प्रवद्र्धन शाखाका प्रमुख केशव भट्टराईले भने, ‘अहिले राष्ट्रपति महिला उत्थान कार्यक्रममा बजेट छ । त्यसबाट केही हदसम्म सम्बोधन गर्न सकिन्छ । ऐन संशोधनका क्रममा छ । ऐन पारित भएपछि परिचयपत्र वितरण सुरु हुनेछ ।’


मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर ५ लाख १३ हजार ३ सय २१ अपांगता भएका व्यक्ति छन् । आर्थिक वर्ष २०७३/७४ सम्ममा २ लाख ३५ हजार १ सय ३६ जनाले मात्र परिचयपत्र पाएका छन् । क, ख, ग र घ वर्गको परिचयपत्र दिइएको छ । ‘अर्थमन्त्रीले बजेट वक्तव्यमा हामीलाई सम्बोधन गरेको पाएर औधी खुसी भयौं,’ राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले भने, ‘तर अक्षरमा आयो, अंकमा बजेट आएन । बहिराका निम्ति कार्यक्रम र बजेट केही छैन ।’


महासंघले नेपाली सांकेतिक भाषा अनुसन्धान केन्द्र र दोभासे तालिम केन्द्र स्थापना हुनुपर्ने माग राख्दै आएको उनले बताए ।


राष्ट्रिय अपांग महासंघ अध्यक्ष सुदर्शन सुवेदीले आफ्ना माग र मुद्दाबारे सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए । ‘हामीलाई गणना गर्नोस् र समावेश गर्नोस् भन्ने अभियानमा छौं,’ संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारमा अपांगता भएकाहरूको समानुपातिक प्रतिनिधित्व नरहेको उल्लेख गर्दै उनले भने, ‘अपांगताको पहिचान, सवालमा विकास र अधिकारसँग जोडेर कानुन नबन्नु र बजेट आउन नसक्नु नै मुख्य कमजोरी हो ।’

समाचार

विश्वकर्मा फेरि अदालतबाटै पक्राउ

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मालाई बिहीबार दोस्रोपटक अदालत परिसरबाटै पक्राउ गरेको छ ।
सर्वोच्चको बिहीबारको आदेशमा रिहा भएलगत्तै प्रहरीले विश्वकर्मालाई पक्राउ गरेको हो ।
नेकपाले भोजपुरमा गराएको बम विस्फोटको घटनामा समेत संलग्न भएकाले विश्वकर्मालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए । उनका अनुसार विश्वकर्मालाई भोजपुर लगेर हिरासतमा राखिनेछ र त्यहीँ नै मुद्दाको प्रक्रिया अघि बढाइनेछ ।
यसअघि चन्दा असुली अभियोगमा साउन २३ मा पक्राउ परेका विश्वकर्मालाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो ।

समाचार

वरिष्ठ पत्रकार न्यौपानेको निधन

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– वरिष्ठ पत्रकार रामचन्द्र न्यौपानेको निधन भएको छ । ८४ वर्षीय न्यौपानेको मंगलबार राति सुतिरहेको अवस्थामा राजधानीको लैनचौरस्थित निवासमा निधन भएको जानकारी परिवारले दिएको छ । बेलुका खाना खाएर सुतेका न्यौपानेलाई बिहान ४ बजे
ओछ्यानमै मृत अवस्थामा फेला पारिएको थियो । उनी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए ।


५० वर्षभन्दा लामो समय पत्रकारितामा सक्रिय न्यौपाने पछिल्लो समय राष्ट्रदूत साप्ताहिकका सम्पादक थिए । उनी गोरखापत्र दैनिकको प्रधानसम्पादकसमेत भएका थिए । उनका दुई श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

समाचार

त्रिवि मानवशास्त्र विभाग प्रमुखमा चेमजोङ

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभाग प्रमुखमा उपप्राध्यापक डम्बर चेमजोङ नियुक्त भएका छन् । विभाग प्रमुख प्राध्यापक लयप्रसाद उप्रेतीले राजीनामा गरेपछि बुधबार चेमजोङलाई नियुक्त गरिएको उपकुलपति तीर्थराज खनियाँले जानकारी दिए । त्रिवि र अमेरिकी सहयोग नियोग (यूएसएआईडी) बीच सम्झौताअनुसारको परियोजनालाई ‘विभाग प्रमुखले दुरुपयोग गरेको’ विद्यार्थी र शिक्षकले आरोप लगाएपछि उप्रेतीले राजीनामा गरेका थिए ।

 

Page 4
वाग्मती प्रदेश

पानी उद्योगमा शिलबन्दी

- रमेशकुमार पौडेल
रत्ननगर देवौलीका सञ्जित साहले घरको साँघुरो कोठाभित्र सञ्चालन गरेको उत्पादन केन्द्र ।तस्बिर : रमेशकुमार

चितवन– प्रशोधित बोतल बन्द पानी उत्पादन स्वचालित मेसिनमार्फत गर्नुपर्ने नियम भए पनि पालना नगर्ने जिल्लाका उद्योगहरूमा प्रशासनले बिहीबार शिलबन्दी गरेको छ । जिल्लामा १७ पानी उद्योग छन् । पहिलो दिन अनुगमन भएका १५ मध्ये १० उद्योगमा प्रशासनले शिलबन्दी गरेको छ । सरकारले गत वर्षको असोज २६ गते पिउने पानी उत्पादन मापदण्ड निर्देशिका जारी गरेको थियो ।


‘जसअन्तर्गत पिउने पानी उत्पादन गर्दा अनिवार्य रूपमा स्वचालित मेशिनबाट बोतल सफा गर्ने, पानी भर्ने तथा बिर्को लगाउने र लेबलिङको काम हुनुपर्छ । हातले केही गर्न पाइँदैन,’ हेटौंडाको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयअन्तर्गत पर्ने चितवन जिल्ला प्रशासन कार्यालयमा रहेको खाद्य निरीक्षण एकाइ प्रमुख प्रवीनकुमार तिवारीले भने । हातैले बोतलमा पानी भर्ने र बिर्को लगाउने १० उद्योग शिलबन्दी गरेको उनले बताए ।


‘पूर्वी चितवन र भरतपुर क्षेत्रका १५ उद्योगमा अनुगमन गर्दा २ वटाले मात्रै स्वचालित मेसिन राखेको पाइयो । एउटा उद्योगले भर्खर मात्रै स्वचालित मेसिन जडान गरेको भेटिएको निरीक्षक तिवारीले बताए । जारमा पानी उत्पादन गर्ने उद्योगलाई यो निर्देशिका लागू नहुने उनको भनाइ छ । मुग्लिन क्षेत्रमा रहेका २ पानी उद्योगमा अनुगमन हुन बाँकी छ ।


‘असोज २६ गते निर्देशिका जारी हुँदा ६ महिनाभित्र सबै उद्योगले स्वचालिन मेसिन राख्नुपर्ने भए उद्योग बन्द गर्नुपर्ने भनिएको थियो । त्यो मिति चैत २६ मै सकिएको हो । तर अहिलेसम्म पनि स्वचालित मेसिन राखेको पाइएन,’ तिवारीले भने । नियमावलीमा भएको नयाँ व्यवस्थाका बारेमा चितवन जिल्ला प्रशासनमा पुस २६ गते सबै पानी उद्योगीलाई राखेर छलफल गरेको उनले जानकारी दिए ।


‘असोज कात्तिकसम्म समय छ भन्ने सुनेको थिए । हामीले मेसिन मगाएका छौं । आउँदै पनि छ । यसरी एक्कासि उद्योग बन्द गर्दा समस्या पर्ने भयो,’ रत्न नगरको माउन्टेन ड्रप पानी उत्पादन गर्ने उद्योगका सञ्चालक शम्भु खनालले भने । १ करोड रुपैयाँको लागतमा उद्योग स्थापना भएर राम्रोसँग चल्न नपाउँदै नयाँ मापदण्ड आएको हुँदा थप लगानीका लागि समय लागेको उनले बताए । खनालका अनुसार स्वचालित मेसिन मगाउँदा साढे १८ लाख रुपैयाँ खर्च हुन्छ ।


आफूले हातले नभई सेमी अटोमेटिक मेसिनमार्फत उत्पादन गर्दै आएको र नयाँ मापदण्डले त्यसलाई मान्यता नदिएपछि मर्का पर्ने भरतपुर–३ मा रहेको युनाइटेड मिनरल वाटर एन्ड बेभरेज इन्डस्ट्रिज प्रालिका राहुल गुप्ताले गुनासो गरे ।

वाग्मती प्रदेश

पाहुना प्राध्यापकबाट व्यावहारिक ज्ञान

आफ्नो विधामा दख्खल राखेका व्यक्तिलाई कक्षामा आमन्त्रण गर्ने नीति क्याम्पसले लिएको छ
- राजेन्द्र मानन्धर

दोलखा– ‘मन्त्रीज्यू कर किन बढ्यो ? विकास र समृद्धिका कुरा के हुन् ?’ ‘पाहुना प्रध्यापक’ का रूपमा कक्षा सञ्चालन गरिरहँदा प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाश ढुंगेललाई विद्यार्थीले
प्रश्न सोधे ।


जिल्ला घुम्न आएका विभिन्न विधामा दख्खल राख्नेलाई पढाउन आमन्त्रण गर्ने नीति लिएको गौरीशंकर बहुमुखी क्याम्पसले बिहीबारको बिहान एउटा कक्षामा अर्थमन्त्री ढुंगेल र विद्यार्थीबीच संवाद चलायो । दोलखाकै जेठो र सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने सामुदायिक क्याम्पसमा स्नातक अध्ययनरत छात्रछात्रा कक्षामा थिए । ४५ मिनेट विकास र समृद्धि विषय पढाइसकेपछि अर्थमन्त्री ढुंगेलले सीपयुक्त शिक्षा र व्यवसायी सोच बोकेका युवाका लागि स्वरोजगारका सम्भावना पनि सुनाउन छुटाएनन् ।


क्याम्पसले सुरु गरेको पाहुना प्रध्यापकका रूपमा यसअघि प्रदेशका मन्त्रीहरू, प्राध्यापक, डाक्टर र कला, संस्कृति र समाज सेवामा अब्बल नाम राख्न सफल व्यक्तित्वलाई आमन्त्रण गर्ने गरेको छ । त्यस्ता व्यक्तित्वको प्रेरणाले विद्यार्थीमा उत्साह र प्रेरणा मिल्ने गरेको क्याम्पस प्रमुख शान्त केसीले बताए ।


कपाल काट्ने, तरकारी र फलफूल उमार्ने, लुगा सिलाउने, होटल चलाउने सीपसहितको इच्छाशक्ति बोकेका युवाले व्यावसायिक योजना बनाए प्रदेश सरकारले लगानी गरिदिने वाचा अर्थमन्त्री ढुंगेलले गरेका छन् । परियोजनामा सघाउन क्याम्पस प्रमुखसहितको टोलीलाई मन्त्री ढुंगेलले जिम्मेवारी पनि दिए । प्रदेश अर्थमन्त्रीले कर र राज्यको शासन प्रणालीबीचको सम्बन्धको विषयमा विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए ।


मानविकी, व्यवस्थापन र शिक्षा विषयमा पढाइ हुने उक्त क्याम्पस समुदायको हातेमालोमा सञ्चालन भइरहेको छ । क्याम्पसले दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्न विद्यार्थीलाई व्यावसायिक र रोजगारमूलक कार्यक्रम पनि सञ्चालन गरेको छ ।


जिल्लाको एक मात्र स्नातकोत्तर पढाइ हुने क्याम्पसमा सुरु गरिएको पाहुना प्राध्यापक कार्यक्रमपछि विद्यार्थीले ज्ञान लिनुका साथै विशेष व्यक्तित्वसँग प्रत्यक्ष भेटघाट र सम्पर्क समन्वय गर्न सहज भएको विद्यार्थी रुपा श्रेष्ठले बताइन् ।


क्याम्पसमा बोलाइने पाहुना प्राध्यापकले किताब पढाउने होइनन् । उनीहरूले जति समय कक्षामा बिताउँछन्, आफूले पाएको विद्वता, सिकेका सीप अनि समसामयिक विषयवस्तुमा विद्यार्थीमाझ प्रस्तुत गर्छन् । यस्तो कक्षाले पढेर के गर्ने भन्नेमा भौंतारिने विद्यार्थीले भविष्यको बाटो देख्न सक्ने क्याम्पसको ठम्याइ छ ।

वाग्मती प्रदेश

‘कार्यशैलीमा परिवर्तन आवश्यक’

संघीय कानुनअनुसारै बजेट खर्च गर्न सकिन्छ
- कान्तिपुर संवाददाता

हेटौंडा– (कास) मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली समृद्ध नेपाल बनाउन परम्परावादी सोच र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् । कार्यशैली र चिन्तनमा परिवर्तन नगरेसम्म मुलुक समृद्ध नहुने उनले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको निरीक्षणका क्रममा बिहीबार प्रदेश ३ का मुख्यमन्त्री पौडेलले कर्मचारीलाई परिणाममुखी काम गर्न निर्देशनसमेत दिएका थिए । परिणाममुखी काम गर्न कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने उनको जोड थियो । प्रदेश सरकार गठन भएको ६ महिना मात्र भएकाले कानुन निर्माणमा समय लागेको उनले बताए । ‘परिणाममुखी काम गर्न केही समय लाग्न सक्छ,’ उनले भने ।


सबै मन्त्रलायले आफ्ना योजना सम्पन्न गर्न कामको प्राथमिकता निर्धारण गर्नुपर्ने निर्देशन दिदै मुख्यमन्त्री पौडेलले अझै परम्परामुखी तरिकाले काम गरिरहेकाले केही समस्या उत्पन्न भएको बताए । विगतको ढर्रामा काम गर्ने हो भने मुलुक सय वर्षमा पनि समृद्ध नहुने उनको जिकिर थियो ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले राजनीतिक परिवर्तनपछि मुलुक नयाँ ढंगले अगाडि बढेको वताए । कर्मचारीले काम गर्दा मन्त्रालय र जनताको हितमा गर्नुपर्ने उनको तर्क थियो । ‘कानुन अभावले गर्दा केही समस्या आएका छन,’ मन्त्री लामाले भने, ‘कानुन निर्माणमा हामी जुटेका छौं ।’ अहिले परिवर्तनको समय रहेकाले यसलाई सबैले आत्मसात गर्नुपर्ने उनको सुझाव छ ।


कार्यक्रममा प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकालले सिंहदरबार गाउँमै आएको जस्तो गरी जनतालाई सेवा दिन निर्देशन दिएका थिए । मुख्यमन्त्री कार्यालयकी कानुन सचिव इन्दिरा दाहालले कानुनका विषयमा अवगत गराइएकी थिइन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव विजयचन्द्र झाले मन्त्रालयका गतिविधिबारे जानकारी गराएका थिए । मुख्यमन्त्री पौडेलले मन्त्रालयको विगत २ दिनदेखि अनुगमन र निरीक्षण गर्न थालेका छन् ।


निकासा भयो, खर्च गर्न आफ्नै कानुन छैन
प्रदेश सरकारले आव ०७५/७६ को बजेटमा स्वीकृत कार्यक्रमहरूको बजेट निकासा गर्न थाले पनि खर्च गर्न आफ्नै कानुन भने बनाइसकेको छैन । ५ लाखमाथिका कार्यक्रम ठेक्कामार्फत गर्ने नीति लिएको प्रदेश सरकारले आफ्नो छुट्टै सार्वजनिक खरिद ऐन भने बनाएको छैन ।


आर्थिक मामिला तथा योजना मन्त्रालयले हालै १ सय १९ स्थानीय तहमा सञ्चालन हुने ससर्त अनुदान शीर्षकको कार्यक्रमका लागि प्रथम किस्ताबापत् ९० करोड ९५ लाख ५० हजार रकम निकासा गरेको छ । मन्त्रालयले सबैभन्दा धेरै धादिङका १३ स्थानीय तहलाई ८ करोड ८ लाख २३ हजार र सबैभन्दा कम रसुवाका ५ गाउँपालिकालाई २ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ । ससर्त अनुदानअन्तर्गत १ सय १९ स्थानीय तहका लागि ३ अर्ब ६३ करोड ८२ लाख रकम विनियोजन भएको छ । स्वीकृत कार्यक्रम सञ्चालन गर्न निकासा रकमबाट टेन्डर गरी काम सुरु गर्न सकिने भए पनि प्रदेशले छुट्टै ऐन नआउँदा प्रचलित संघीय कानुनअनुसारै गर्नुपर्ने बाध्यता छ । मन्त्रालयका प्रवक्ता किशोर बर्तौलाले मौजुदा संघीय कानुनअनुसार काम गर्न सकिने बताए । ‘संघीय कानुनअनुसारै बजेट खर्च गर्न सकिन्छ,’ उनले भने, ‘हाम्रो छुट्टै खरिद, ऐन, नियमावली पनि बनाउँदै छौं, तत्कालका लागि कार्यविधि पनि तयार हँुदै छ ।’ ऐन बनाउन समय लाग्ने भन्दै कार्यविधि बनाएर काम गर्ने बाटो खुलाउन सरकारले पेस गरेको प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्न) बनेको विधेयक प्रदेशसभाबाट पारित भइसकेको छ ।


मन्त्रालयले सबै स्थानीय तहलाई पठाएको पत्रमा आवको अन्त्यमा खर्च नभई बाँकी रहेको रकम प्रदेश सञ्चित कोषमा रहने उल्लेख पनि गरेको छ । मन्त्रालयले यसअघि नै सबै स्थानीय तहमा अन्तर सरकारी वित्तीय हस्तान्तरणसम्बन्धी व्यवस्था, कार्यक्रम र मार्गदर्शन पठाइसकेको छ ।

वाग्मती प्रदेश

अवरुद्ध सडक खुलेन

- कान्तिपुर संवाददाता
रसुवा–धुन्चे सडकमा गाडी नचल्दा बोकेरै व्यापारिक सामान लैजाँदै । तस्बिर : बलराम घिमिरे

रसुवा (कास)– एक सातादेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोडने धुन्चे–रसुवागढी सडक अझै सुचारु हुन सकेको छैन । पासाङल्हामु मार्गको त्रिशूली खोलानजिकै दायाँबायाँ पहिरो जाँदा उक्त सडक खण्ड एक सातादेखि अवरुद्ध भएको हो ।


अवरुद्ध सडक समयमै मर्मत नहुँदा यात्रुहरूले सास्ती बेर्होनुपरेको छ । उता गोसाइँकुण्ड गाउँपालिका २, घट्टेखोलाको पुलमा बाढीले क्षति पु‍र्‍याएपछि रसुवागढी नाका तीन सातादेखि ठप्प छ । सीमा नजिकै भोटेकोसी नदीले सडक कटान गरेको छ । यातायात नचल्दा जिल्लाको उत्तरी भेगका स्थानीय बासिन्दा, चिनियाँ पर्यटक र मानसरोवर जाने तीर्थयात्रीहरू मर्कामा परेका छन् । तीज, दसंै र तिहारका लागि चीनबाट आयात गरिएका सामान केरुङमा रोकिएका छन् । रसुवागढी नाका हुँदै चीनको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीहरू महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर्ड गर्न बाध्य भएका छन । स्याउ बोकेका सयौं कन्टेनरहरू बाटैमा अलपत्र परेका छन् ।


चीनबाट आयात गरिएको स्याउ, लसुनलगायतका सामग्री कुहिन थालेका छन् । सामान कुहिन थालेपछि व्यापारीले स्याउको ढुवानी मान्छेलाई बोकाएर गर्न थालेका छन् । ‘स्याउ पनि रसुवागढी, घट्टेखोला र खोपाङ भीर गरी तीन ठाउँमा पल्टी गरेर भरियालाई बोकाउनुपर्छ,’ स्वर्णिम इम्पोर्ट एक्स्पोर्ट प्रालिका प्रोपाइटर शारदा पराजुलीले भने ।


अन्तर्राष्ट्रिय नाका जोडने सडक र पुल लामो समयसम्म पनि मर्मत नभएकोमा व्यापारीहरूले गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय नाका जोडने सडकमा यातायात संचालन नभएको लामो समय भइसक्यो पुल मर्मतमा सरकारले वास्ता गरेन व्यापारीहरूले भने । सडक संचालन हुन केही दिन लाग्ने डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले बताए ।
ब्लाष्टिङ गर्न होल खोप्ने काम सुरु भइसकेको छ उनले भने । सडक मुनी पहिरो गएकाले उक्त स्थानमा तत्काल तार जाली लगाउने अबस्था छैन् । सडकको कुनाबाट नयां ट्रयाक खोल्न पर्ने अबस्था रहेको छ । उक्त स्थानमा ठुलो पहरो भएकाले ब्लाष्टिङ गर्न पर्छ ।

वाग्मती प्रदेश

करेन्ट लागेर एकको मृत्यु

छोटकरी
- कान्तिपुर संवाददाता

नुवाकोट (कास)– लिखु गाउँपालिका १, खहरेखोलामा बिहीबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । दुई सख्त घाइते भएका छन् । बिहान ६ बजे भुइँमा लत्रेको ३३ हजार केभी विद्युत् लाइन सर्ट भई पैदल हिँडेका तुलसा अधिकारीको मृत्यु भएको हो । उनीसँगै रहेकी सुदीक्षा पौडेल सख्त घाइते छिन् । करेन्ट लागेको थाहा पाएर छुटाउने गएका लालप्रसाद लामिछाने पनि सख्त घाइते भएको प्रहरीले जनाएको छ । पौडेल र लामिछानेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

वाग्मती प्रदेश

दसैं महोत्वस गरिने

छोटकरी
- कान्तिपुर संवाददाता

नुवाकोट(कास)– त्रिभुवन त्रिशूली माविले डिप्लोमा सिभिल इन्जिनियर कक्षा सञ्चालनार्थ नुवाकोट दसैं महोत्सव गर्ने भएको छ । आगामी असोज २२ देखि ३० गतेसम्म महोत्सवको आयोजना गर्न लागेको व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताए । उक्त कक्षा सञ्चालन गर्न आर्थिक सहयोग जुटाउन पर्ने भएकाले महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्वसबाट उठेको रकम इन्जिनियरिङ शिक्षाका लागि खर्चिने विद्यालयले जनाएको छ । यसै शैक्षिक वर्षदेखि जिल्लामा प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालित डिप्लोमा सिभिल इन्जिनियरिङ विषयको कक्षा सञ्चालन गर्न लागेको हो ।

वाग्मती प्रदेश

वंशगोपालमा सिभिल इन्जिनियरिङ

छोटकरी
- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– यहाँको एक सरकारी विद्यालयले माध्यमिक तहमा सिभिल इन्जिनियरिङ विषयको पढाइ सुरु गर्ने भएको छ । हेटौंडा–६ चौघडामा रहेको वंशगोपाल माध्यमिक विद्यालयले भदौ अन्तिम सातादेखि कक्षा सञ्चालन गर्नेे प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जानकारी दिए । साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले वंशगोपाललाई सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गर्ने अनुमति प्रदान गरेको थियो । सेमेस्टर प्रणालीमा अध्यापन हुने उक्त विषय एसईई उत्तीर्ण ४८ जनाले अध्ययन गर्न पाउनेछन् । एसईई परीक्षामा कम्तीमा विज्ञान र गणितमा सी र अंग्रेजीमा डी प्लस ग्रेड ल्याएको हुनुपर्ने सिभिल इन्जिनियरिङ शाखा प्रमुख रविन पाठकले जानकारी दिए । तीनवर्षे कोर्समा ६ वटा सेमेस्टर रहने विषय अध्ययनका लागि विद्यालयले साढे २ लाख शुल्क निर्धारण गरेको छ । व्यावसायिक शिक्षा तथा तालिम परिषद्बाट अनुमति लिएको विद्यालयले आवश्यक भौतिक पूर्वाधार तयार गरिसकेको छ ।

वाग्मती प्रदेश

जिसस अधिकृतमाथि छुरा प्रहार

छोटकरी
- कान्तिपुर संवाददाता

रामेछाप (कास)– जिल्ला समन्वय समिति रामेछापमा कार्यरत कार्यक्रम अधिकृत नारायणप्रसाद सुवेदीमाथि बुधबार राति छुरा प्रहार भएको छ । उनको पेटमा छुरा हानिएको छ । खाना खाएर घरको माथिल्लो तलामा सुतिरहेको अवस्थामा उनलाई मुखमा माक्स लगाएको अपरिचित व्यक्तिले छुरा प्रहार गरी फरार भएको हो । सुवेदीलाई तत्कालै मन्थलीको तामाकोसी सहकारी अस्पतालमा उपचारका लागि ल्याइएकोमा थप उपचारका लागि राति नै धुलिखेल अस्पताल पठाइएको थियो । धुलिखेल अस्पतालमा उनको शल्यक्रिया भएको जनाइएको छ । सरल स्वभावका सुवेदीमाथि भएको उक्त आक्रमणको कारण खुल्न सकेको छैन । कसैसँग पनि झगडा नभएको र कुनै पक्षबाट यस अघि धम्की दिएको जानकारीमा नआएको परिवारजनले जनाएका छन् ।

 

Page 5
उपत्यका

बिमस्टेकका लागि फटाफट काम

- विद्या राई
काठमाडौंको त्रिपुरेश्वरमा सडक किनारका नाली सफा गर्दै र कालीमाटीमा लत्रेको तार मिलाउँदै महानगरका कर्मचारी । भदौ १५ र १६ गते हुने बिमस्टेक सम्मेलनको तयारीका लागि काठमाडौंका सडक सफाइ, रंगरोगन र अव्यवस्थित तार मिलाउन महानगर लागिपरेको छ । तस्बिर : कविन अधिकारी

काठमाडौं– काठमाडौंमा हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको तयारी सुरु भएको छ । काठमाडौं महानगरपालिकालाई फोहोरमैला व्यवस्थापन, सडक सरसफाइ र स्वागतद्वार निर्माण गर्ने जिम्मेवारी छ ।


घर, व्यवसाय, कार्यालयबाट निस्केका फोहोर जथाभावी फ्याँकेर दुर्गन्धित र अस्तव्यस्त बनेको काठमाडौं सरसफाइमा महानगरलाई चटारो छ । फोहोरमैला उठाउने र सिस्डोलमा व्यवस्थापनका लागि पठाउने काम भइरहेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।
‘महानगरले उठाउँदै आएको स्थानका फोहोरमैला लगभग उठाइसकेका छौं, निजी क्षेत्रका आफ्नै गाडी नभएर उठाएका छैनन्, यी पनि महानगरले नै उठाउँछ,’ उनले भने । अहिले दैनिक २ सय ट्रक फोहोर सिसडोलमा विसर्जन भइरहेको छ । यसैगरी धुलाम्मे र हिलाम्मे सडक पनि बिमस्टेक सम्मेलनको अवसरमा सफा गरिँदै छन् ।


भदौ १० गतेबाट काठमाडौंका मुख्य सडक जेट मिसिन र ब्रुमरले सफा गरिने भएको छ । जेट मेसिनले हिलो पखाल्ने काम हुन्छ भने ब्रुमरले धुलो सफा गर्छ । एयरपोर्टदेखि सोल्टी होटल, सिंहदरबार आसपास, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, चक्रपथ लगायत क्षेत्रका मुख्य सडक जेट मिसिन र ब्रुमर लगाएर सफा गरिनेछन् ।


यसका लागि महानगरमा भएका ३ जेट मिसिन र ब्रुमर प्रयोग हुनेछन् । थप जेट मिसिन र ब्रुमरका लागि सडक विभागसँग पनि समन्वय गर्न सकिने प्रवक्ता कार्कीले बताए । काठमाडौंमा करिब एक सय स्वागताद्वार पनि निर्माण गरिनेछ । महानगरकाअनुसार १२ गतेसम्ममा फोहोरमैला व्यवस्थापन, सडक सरसफाइ र स्वागतद्वार निर्माण कार्य सकिनेछ ।
बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । यी मुलुकका राष्ट्र र सरकार प्रमुख भदौ १५ र १६ गते आयोजना हुने सम्मेलनमा सहभागी हुँदै छन् । ‘१३ गतेबाट पाहुना आउन सुरु गर्नुहुन्छ, १२ गते सम्पन्न गरिसक्नुपर्ने भएकाले काम त्यही रफ्तारमा बढिरहेको छ,’ प्रवक्ता कार्कीले भने ।


दिनमा मात्रै काम गरेर सम्भव नहुने भएकाले रातको समयमा पनि काम हुनेछ । दिनमा सवारीसाधनको चाप हुने कारण रातमा सडक सफाइको काम बढी हुनेछ । यसअघि ८ घण्टामात्रै कर्मचारी परिचालन गर्दै आएको महानगरले तयारी सम्पन्न नहुन्जेलसम्म १६ घण्टा नै परिचालन गर्ने भएको छ । सवारीसाधन र मेसिनहरू पनि सोहीअनुरूप सञ्चालन हुन्छन् । तयारीमा लागेको सबै खर्च महानगरले आन्तरिक स्रोतबाट जुटाउने भएको छ ।


सवारीसाधन, मेसिन र मानवीय स्रोत परिचालन दोब्बर भएकाले खर्च बढी हुने आकलन गरेको छ । सन् १९९७ मा स्थापना भएको बिमस्टेकको पहिलो सम्मेलन सन् २००४ मा थाइल्यान्डमा भएको थियो । दोस्रो सन् २००८ मा भारतमा भएको थियो । तेस्रो शिखर सम्मेलन ४ वर्षपछि सन् २०१४ मा म्यानमारमा भएको थियो । त्यसपछिको अध्यक्ष नेपाल बनेको हो । अध्यक्ष मुलुकले सम्मेलन आयोजना गर्ने चलनअनुसार काठमाडौंमा सम्मेलन हुन लागेको हो ।

उपत्यका

ट्रमा सेन्टर जाँदैनन् वीरका डाक्टर

- फातिमा बानु
ट्रमा सेन्टरमा उपचार कुरिरहेका बिरामी । 

एउटै स्वास्थ्य प्रतिष्ठानअन्तर्गत पर्ने वीर अस्पताल र ट्रमा सेन्टरका चिकित्सकले आवश्यक पर्दा दुवैतिर सेवा दिनुपर्ने हुन्छ । तर दुई अस्पतालबीच सहकार्य नहुँदा बिरामी मारमा पर्ने गरेका छन् । वीरका डाक्टरलाई लिखित रूपमा बोलाए पनि नआउने गरेको ट्रमाका चिकित्सक बताउँछन् ।

 

काठमाडौं– बाराका सामोहम्मद उपचारका लागि राजधानीको ट्रमा सेन्टर पुगे । लामो समयदेखि ढाड र छातीको समस्या झेलिरहेका उनको राजधानी आइपुगे पनि उपचार भने हुन सकेको छैन । 
ट्रमामा कार्यरत चिकित्सकले गर्नुपर्ने सबै उपचार भइसक्दा पनि ‘कन्सल्टेन्ट डाक्टर’ नहुँदा उनको शल्यक्रिया रोकिएको छ । हाडमा देखिएको क्षयरोग संक्रमण छातीसम्म सरेको हुँदा यतिखेर उनलाई छातीरोग विशेषज्ञबाट उपचार आवश्यक छ, जो ट्रमामा उपलब्ध छैनन् ।


वीर अस्पतालबाट विशेषज्ञ आइदिनुपर्ने हुन्छ । वीरबाट विशेषज्ञ नआउँदा उनको आकस्मिक उपचार समेत रोकियो । अवस्था गम्भीर भएपछि हाल उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल रिफर गरिएको छ । दुई साताअघि मोटरसाइकलको ठक्करबाट घाइते भएका एक बिरामीको पनि कन्सल्टेन्ट डाक्टर अभावमा उपचार प्रभावकारी हुन सकेको छैन । उनको मानसिक अवस्थामा समेत समस्या देखिएको छ ।


आफ्नो नामसमेत सही तरिकाले भन्न सक्दैनन् । उनको खुट्टाको हड्डी भाँचिएको छ । शल्यक्रिया गर्नुपर्ने अवस्थामा छन् । आफन्तबारे केही बताउन नसक्ने उनलाई मानसिक रोग विशेषज्ञबाट उपचार आवश्यक छ । आफन्तको अनुमतिबिना शल्यक्रिया गर्न नसकिने हुँदा उनको पनि उपचार रोकिएको छ । ट्रमा सेन्टरमा मानसिक रोग विशेषज्ञको दरबन्दी छैन । 
वीरकै डाक्टरले हेर्नुपर्ने हुन्छ । वीर अस्पतालमा पनि साताको २ दिन मात्रै मानसिक रोग विशेषज्ञ आउँछन् । उनीहरू पाटन मानसिक अस्पतालबाट आएर वीरमा उपचार सेवा दिने 
गरेका छन् ।


ट्रमा सेन्टरमा भने उनीहरू आउँदैनन् । गम्भीर घाइते भएर ट्रमा सेन्टरमा भर्ना भएका अधिकांश बिरामी मानसिक अवस्थामा पनि विक्षिप्त हुन्छन् । त्यस्ता बिरामीलाई मानसिक परामर्श र मनोबल बढाउन अत्यावश्यक हुने उपचारमा संलग्न चिकित्सक बताउँछन् ।


वीर अस्पताल र ट्रमा सेन्टर एउटै स्वास्थ्य प्रतिष्ठानअन्तर्गत पर्छन् । यस हिसाबले दुवै अस्पतालका चिकित्सकले आवश्यक पर्दा दुवैतिर सेवा दिनुपर्ने हुन्छ । वीरका डाक्टरले ट्रमाका बिरामीको अवस्था हेर्ने र ट्रमाका डाक्टरले वीरका बिरामीको शल्यक्रिया गर्ने ।


दुई अस्पतालबीच सहकार्य नहुँदा बिरामी मारमा पर्ने गरेका छन् । वीर अस्पतालका डाक्टरलाई लिखित रूपमा बोलाउँदा पनि नआउने गरेको ट्रमामा कार्यरत चिकित्सक बताउँछन् । शल्यक्रिया नै नहुने र जोखिममा पर्ने स्थिति आएपछि बिरामीलाई अन्य अस्पतालमा रिफर गरिँदै आएको छ ।


रिफर भएर जाने सरकारी अस्पतालमा पनि बिरामीले सजिलै बेड पाउन सक्दैनन् । उनीहरू भौंतारिन्छन्, दु:ख पाउँछन् । यस्ता झमेलासँग जुध्न नसक्दा कोही उपचार नै नगरी फर्किन्छन् ।


दुर्घटनामा गम्भीर घाइते, आगोले जलेका, र हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीले ट्रमा सेन्टरमा लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ । उनीहरूलाई शल्यचिकित्सकको जति आवश्यकता हुन्छ जनरल मेडिसिनका कन्सल्टेन्ट डाक्टरको निगरानी पनि उत्तिकै चाहिन्छ । यस्ता बिरामीलाई मधुमेह, मुटु, मृगौला, छातीसम्बन्धी समस्या देखिन्छ ।


शल्यक्रिया भइसकेका बिरामीलाई पनि कहिलेकाहीं यस्ता चिकित्सकबाट उपचार चाहिन्छ । ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्याय भन्छन्, ‘हामीले ट्रमामै यस्ता डाक्टरको दरबन्दी हुनुपर्छ भनेर माग राखेका छौं, नयाँ दरबन्दी खुल्न नसक्दा यस्तो समस्या भइरहेको छ ।’


विशेषज्ञ र पूर्वाधार हुँदाहुँदै पनि बिरामी रिफर गर्नुपरेकोमा उनले दु:ख व्यक्त गरे । वीरका डाक्टर ट्रमा जान नमानेको विषयमा आफूलाई जानकारी नभएको वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले बताए । उनले भने, ‘वीरमा बिरामीको चाप अत्यधिक छ, यतैका बिरामीलाई समय दिन भ्याइनभ्याइ हुन्छ ।’ दुवै अस्पतालका प्रशासन र डाक्टरसँग सल्लाह गरेर यस्ता समस्या समाधान गरिने उनले बताए ।

उपत्यका

अख्तियारको छानबिनले रोक्या रोक्यै

- प्रशान्त माली

ललितपुर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नख्खु खोला करिडोर निर्माणमा भएको अनियमितताबारे उजुरी परेपछि २०६७ सालमा छानबिन सुरु गर्‍यो ।


तत्कालीन जिल्ला प्राविधिक कार्यालय इन्जिनियरका अनुसार विस्तृत निष्कर्ष आउन बाँकी छ । १६ किमि कच्ची सडक निर्माण गर्न २०६७ मा तत्कालीन जिल्ला विकास समिति ललितपुरले १ करोड ६० लाख र ललितपुर उपमहानगरपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको थियो । स्थानीय निकाय आर्थिक प्रशासन नियमावलीमा उपभोक्ता समितिलाई ३५ लाखसम्मका योजना मात्रै कार्यान्वयन गर्न दिने व्यवस्था छ ।


जिविसले राजनीतिक प्रभावका आधारमा बजेट सीमाभन्दा बढीको रकम निकासा गरेको आरोप थियो । डेढ करोड रुपैयाँभन्दा बढी बजेटको योजना उपभोक्ता समितिलाई दिने जिविसको निर्णयलाई अख्तियारले छानबिन थालेको हो ।


महालेखा परीक्षकको कार्यालय तथा राष्ट्रिय सतर्कता केन्द्रले नख्खु करिडोर निर्माणमा अनियमितता भएको भन्दै संलग्नमाथि कारबाही र उपभोक्ता समितिको नाममा रहेको बेरुजु असुलउपर हुनुपर्ने निर्णय गरेका थिए । तर, हालसम्म फछ्र्योट भएको छैन ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशनको अनियमितताबारेमा थालेको छानविन एक वर्ष बढी बितिसक्यो, अझै टुंगिएको छैन । आयोगमा साझाका कर्मचारीले संस्थामा व्यापक भ्रष्टाचार भएको दाबी गर्दै छानबिन गरी कारबाही गर्न माग गरेर गत वर्ष साउनमा उजुरी दर्ता गरेका थिए । कर्मचारीको उजुरीमा साझाका महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माले ०७३ मा आफ्नो मुद्रणालयलाई कथित रूपमा बेचेको र अल्पाइन अफसेट प्रेसको थोत्रो वेभ मेसिन प्रक्रिया नपुर्‍याई भाडामा लिएको आरोप छ । त्यसैगरी उनीमाथि साझाको पुल्चोकस्थित केन्द्रीय कार्यालय परिसरको जग्गा सहकारी बैंकको लिलामबाट बचाउन सरकारबाट ३० करोड रुपैयाँ दिएको थियो । उक्त रकममध्ये १४ करोड रुपैयाँबाहेक बाँकी रकम मनोमानी ढंगले खर्च गरेको आरोप लगाएको थियो । साझाका आफ्नै छापाखाना र कम्प्युटर छन् ।


लेखकहरूबाट पाण्डुलिपि टाइप भएर प्राप्त हुने नियम छ । तर, कम्प्युटर टाइपिङ, प्रुफिङको नाउँमा लाखौं रुपैयाँ भुक्तानी गरी कार्कीले अनियमितता गरेको कर्मचारीको आरोप छ । महाप्रबन्धक शर्माले अख्तियारले थालेको छानबिनमा आफ्नो केही कैफियत नभेटिएको दाबी गरे । आयोग प्रवक्ता रामेश्वर दंगालले कार्कीको फाइल अनुसन्धानकै क्रममा रहेकाले केही भन्न नसक्ने अवस्थामा रहेको बताए । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीविरुद्ध कर्मचारीले अख्तियारमा ट्रान्समिटर खरिद, दोहोरो तलब लिएको, सवारी सुविधा र महँगा मोबाइल, क्यामरा खरिदलगायत १४ शीर्षकमा अनियमितता गरेको दाबी सहित कारबाही गर्न गत वर्ष दिएको उजुरी अझै टुंगिएको छैन । कार्कीले खुमलटारस्थित प्रसारण केन्द्रको जग्गा ठेकेदार कम्पनीलाई कौडीको भाउमा भाडामा दिएको पनि आरोप छ । खुमलटारको उक्त जग्गाको मूल्य चलनचल्तीमा प्रतिरोपनी ५ करोड रुपैयाँ पर्छ । भाडामा प्रतिरोपनी एक लाख रुपैयाँभन्दा कम मूल्यमा पाउन सकिँदैन । ललितपुर महानगरपालिका–१५ वडाध्यक्ष सुदर्शन मिश्रले उक्त जग्गा विपत् व्यवस्थापनका लागि खुला नै राख्नुपर्नेमा रेडियो नेपालले कौडीको भाउमा भाडामा दिएको आरोप लगाए । सातदोबाटो–गोदावरी जाने मूल बाटोको उत्तरपट्टिको ४२ रोपनी जग्गा कुवेर ज्ञान हाउजिङ कम्पनीलाई कम मूल्यमा भाडामा दिएको कार्कीमाथि आरोप छ । कार्कीले पनि अख्तियारले थालेको छानबिनमा आफ्नो केही कैफियत नभेटिएको दाबी गरे ।


यी केही उदाहरण मात्र हुन् । आयोगलाई अख्तियारको दुरुपयोग गरेमा कानुनबमोजिम अनुसन्धान गर्न सक्ने संवैधानिक व्यवस्था छ । अनुसन्धानबाट सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरेकामा कारबाही गर्न अदालतमा मुद्दा दायर गर्न सक्छ । आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरेर आरोपमा थुप्रै छानबिन पनि थाल्ने गरेको छ । तर, आयोगद्वारा अनुसन्धान धेरै ढिलाइ गर्ने गरेको आरोप छ । आयोगका प्रवक्ता रामेश्वर दंगालले इस्ट्रिङ अपरेसन गरेर घूससहित पक्राउ परेकाहरूको मात्र २०/२२ दिनमा मुद्दा दायर गर्न सकिने बताए । ‘अन्य केसको हकमा अनुसन्धान जति पनि लम्बिन सक्छ,’ उनले भने, ‘अनुसन्धान लम्बिनुमा आयोगमा कर्मचारी अपुग भएर भने होइन ।’


उनका अनुसार ३२ हजार घूससहित पक्राउ परेका यातायात कार्यालय वाग्मती एकान्तकुना सवारी चालक अनुमतिपत्र नयाँ दर्ता शाखाका नासु लेखनाथ भुसाल र ७० हजार रुपैयाँ घूससहित पक्राउ परेका ललितपुर महानगरपालिका राजस्व फाँटका खरिदार राजेन्द्र नेमकुल र १५ नम्बरका दलाल कृष्ण बोगटीलाई मुद्दा दायर गरिसकेको छ । ‘अन्य केसको हकमा त्यसै भन्न सकिँदैन,’ उनले भने ।

उपत्यका

सडक विस्तार रोकियो

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– सडक विस्तारका क्रममा पर्खाल लगाउन खनेको खाल्डो मध्यपुर थिमि नगरपालिकाले पुरेपछि पेप्सीकोला–सानोठिमी–सल्लाघारी सडक विस्तार कार्य रोकिएको छ । मध्यपुर थिमि मनोहरा पुलदेखि पूर्वतर्फ खसाङखुसुङ खोलासम्मको करिब साढे ४ किलोमिटरको विवादित सडक विस्तार गर्न समन्वय नगरेको भन्दै नगरपालिकाले बिहीबार पर्खाल लगाउन खनेको खाल्डो पुरेको हो । सडक विस्तारको क्रममा बुधबार स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।

उपत्यका

नेपाल इन्जिनियरिङका विद्यार्थीद्वारा प्रदर्शन

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– नेपाल इन्जिनियरिङ कलेज जोगाउन माग गर्दै शिक्षक, विद्यार्थी, कर्मचारी, स्थानीयलगायतले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विरोध प्रदर्शन गरेका छन् । चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित कलेज गैरनाफामूलक संस्थाको रूपमा सञ्चालन गर्न माग गर्दै बिहीबार कलेजका शिक्षक, विद्यार्थी, कर्मचारी र स्थानीयले धर्ना दिएका हुन् । धर्नापछि संयुक्त विद्यार्थी संगठनले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ध्यानाकर्षण
पत्र बुझाए ।

उपत्यका

७ वडा कार्यालय बन्ने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौं महानगरपालिकाले थप सात स्थानमा वडा कार्यालय भवन निर्माण गर्ने भएको छ । आफ्नै भवन नहुँदा भाडामा बसेर काम गर्दै आएका वडालाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्षभित्रै निर्माण सकिसक्ने महानगरले जनाएको छ ।


वडा नं. ३, ४, ९, १२, १४ र २९ मा नयाँ भवन निर्माण गर्न लागिएको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर रामबहादुर थापाले बताए ।

उपत्यका

अस्ट्रेलियन शैक्षिक मेला हुने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गरी राजधानीमा अस्ट्रेलियन शैक्षिक मेला आयोजना गरिने भएको छ । अस्ट्रेलियन एजुकेसन कन्सल्टयान्ट एलाइन्स (एका) ले भदौ ८ शुक्रबारदेखि दुईदिने मेला गर्न लागेको हो । ‘विद्यार्थीसँगै अभिभावक’ नारासहित दोस्रो संस्करणको मेला दरबारमार्गस्थित होटल अन्नपूर्णमा हुँदै छ । ‘प्लस टु सकेर अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरेका छौं,’ आयोजक एकाका अध्यक्ष नीरज श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘अभिभावकसमेतलाई स्वागत गर्छाैं । मेलामा अस्ट्रेलियाका सातवटा कलेज तथा २२ वटा शैक्षिक परामर्शदाताको प्रत्यक्ष सहभागिता रहनेछ ।’ मेलामा अस्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी तथा अभिभावकको जिम्मेवारी, पढाइ खर्च र पढ्ने विषय, कलेज तथा विश्वविद्यालयबारे विशेष जानकारी उपलब्ध गराइने जनाइएको छ ।

 

Page 6
सम्पादकीय

सार्वजनिक यता न उता

- कान्तिपुर संवाददाता

सहरहरू कसरी बन्छन् जसरी जान्छन् सडक । सडक जता जान्छ त्यसरी सवारी । पैदल होस् वा मोटर । साइकल वा रेल । सडक कसका लागि भन्ने प्रश्न गर्नुअघि सहर कसका लागि भन्ने जान्न जरुरी छ । जस्तो– काठमाडौं । काठमाडौं कहाँसम्म कसरी फैलिन्छ भन्ने यकिन गर्न सडकहरू कता गइरहेका छन्, हेर्नुपर्ने हुन्छ ।


खासमा सडकहरू कतै पनि नगई घुमिरहेका छन्, जताजता यात्रु भेटिन्छन् । यस्ता सडकमा बिचल्ली सर्वसाधारणको छ । सार्वजनिक यातायात जनता यता न उता पार्ने माध्यम भएका छन् । गाडी मालिक हजारौं छन् । चालकहरूले मालिकसँग ठेक्कामा गाडी चलाउँछन् जो दैनिक निश्चित रकम उठाउन बाध्य छन् । अनि त गाडीको गति कति–कति हुँदै सबैको मति यतिउति हुन पुगेको छ ।


कुखुराका चल्ला टिपेझैं जहाँबाट पनि यात्रु उठाउने, उभिन नपुग्ने ठाउँमा कोचकाच पार्ने र जहीँतहीँ ओराल्ने काठमाडौंको आम सडक दृश्य हो । गाडी नपाइने, राति ८ बजेसम्म पनि नचल्ने, पाइहाले गाडी नभरिउन्जेल कुरिरहनुपर्ने बेथिति जारी छन् । न समय तालिका छ, न एकीकृत टिकट प्रणाली । न आरामदायी, न सुरक्षित ।


सरकारले यातायात व्यवस्था समितिका नाममा व्याप्त सिन्डिकेट हटाएको घोषणा गरे पनि लागू हुन सकेको छैन । सार्वजनिक यातायात सञ्चालकहरूले कम्पनी ऐनअन्तर्गत व्यवसाय सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि अधिकांश रुटमा पुरानै व्यवसायीको एकाधिकार छ । राजधानीमै विभिन्न रुटका बस र माइक्रोले अन्य संघ वा समितिलाई गाडी थप्न दिएका छैनन् । सिन्डिकेट हटाएर के गर्ने, कार्ययोजना र कार्यविधि आएन ।


यातायात रुटहरू वैज्ञानिक छैनन् । दोहोरिने समस्या व्यापक छ । जस्तो– रत्नपार्कदेखि लगनखेलसम्म मात्रै जाने माइक्रो पनि छ, रत्नपार्कदेखि नै सातदोबाटोसम्म जाने पनि । वैज्ञानिक आधारले रुट निर्धारण गरेको भए कति यात्रु, कुन–कुन रुट र कति सवारी भन्ने निश्चित हुन्थ्यो । व्यवसायीहरूको प्रभाववश नीति–निर्माताहरू हल न चल छन् ।


सानो प्रयासस्वरूप साझा यातायात र काठमाडौं महानगरपालिकाको सहकार्य अनुकरणीय छ । यसैबीच सरकारी सहयोगमा केही ठूला बस राजधानीमा चल्न थालेका छन् । बालाजु–सिनामंगल रुटका ६१ टेम्पो र माइक्रोबस विस्थापित गरेर केही दिनअघि सरकारले १७ वटा ठूला बस चलाउन थाल्यो । नगर विकास कोषको अनुदान तथा सहयोगमा माइक्रो र टेम्पो सञ्चालकलाई ‘विशेष राहत प्रदान गर्दै उनीहरूकै संलग्नतामा ‘दिगो सार्वजनिक यातायात प्रालि’ खोलिएको हो ।


साना गाडी विस्थापन गर्ने, समितिको सट्टा कम्पनीमार्फत चलाउने, सार्वजनिक यातायात व्यवस्थापन संयन्त्र बनाउने, बसका लागि समर्पित रुट बनाएर यात्रुलाई सार्वजनिक यातायातप्रति आकर्षित गर्नेजस्ता उपाय गर्न सकिन्छ । उपाय लगाउनुअघि अभिप्राय खुल्नुपर्छ । सरकार सार्वजनिक यातायातप्रति सचेत छ भने यसमा सहभागी हुन तम्सिनुपर्छ ।
सरकारसँग कुन मोडेलमा सार्वजनिक यातायात सञ्चालन गर्ने भन्ने योजना छैन । सार्वजनिक यातायात प्रणाली के हुने, निजीलाई दिने कि कुनै सरकारी निकायले पनि लगानी गरी संयुक्त कम्पनीमार्फत चलाउने ? विकसित देशहरूमा सार्वजनिक यातायातमा सरकारले अनुदान दिन्छ । सञ्चालक कम्पनीमा सरकारी निकायको पनि लगानी हुन्छ । युरोपका सफल सहरी यातायातमा उल्लेख्य मात्रामा सरकारी अनुदान हुन्छ । सञ्चालन कम्पनीमा नगरपालिका सहभागी बन्छ ।


सार्वजनिक यातायातमा कुनै लगानी नगर्नु जनतालाई यातायात सेवा दिनुपर्छ भन्ने सरकारको चेतनाको अभाव हो, दिशाहीनता पनि हो । सरकारको दायित्व जनतालाई भरपर्दो, आरामदायी र सुरक्षित आवागमन सेवा दिने हो । स्वभावैले मुनाफा कमाउने निजी क्षेत्रलाई पूरै सडक जिम्मा लगाउनु हातगोडा बाँधेर बस्नु हो ।

दृष्टिकोण

स्थानीय कर : अचानोमा संघीयता

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐनले संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्व र प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटको अनुपात तोकिदिएको छ ।
- कृष्ण खनाल


स्थानीय करको विषय सामाजिक सञ्जाल लगायत सञ्चार माध्यममा छाएको छ । सामान्य गाउँले किसानको दैनिक गुजारादेखि ठूला उद्योग व्यवसायीमाथि दोहोरो–तेहोरो करको कहर व्यापक भएको गुनासा छन् । मानिस विरोधमा उत्रिएका छन् । स्थानीय सरकारका रूपमा चिनिएका गाउँ/नगरपालिकाले अन्धाधुन्द कर लगाएको खबर छ्यापछ्याप्ती छ । कर आतङ्कको भाइरलबाट मुलुक ग्रसित छ । यसको अचानोमा संघीयता परेको छ । साधारण गाउँलेलाई उद्धृत गर्दै जनताको ढाड भाँच्ने संघीयता किन चाहियो भनेर प्रश्न उठ्न थालेका छन् । संघीयता धरापमा पार्न खोजिएको भनेर सत्तापक्ष र विपक्षबीच आरोप–प्रत्यारोप चल्न थालेको छ ।


आखिर कुरा के हो ? हरेक विवादमा संघीयता किन जोडिन्छ ? यस्तै विवादमा हामी कहिले गणतन्त्र जोड्छौं त कहिले धर्मनिरपेक्षता । राजनीतिक मतमतान्तर स्वाभाविक र नियमित हो । आफ्नो राजनीतिक प्राथमिकता अनुकूल भएन भन्दैमा सबै दोष सिंगो प्रणाली र संवैधानिक मान्यतालाई दिनु उचित हो–होइन, विचार गर्ने बेला आएको छ । यो प्रणालीको दोष हो कि नीति र व्यवहारको, छुट्याउन जरुरी छ । अन्यथा हाम्रो राजनीति सधैं गन्तव्य विराएको यात्रीजस्तो कहिले यता कहिले उता भौंतारिनुमा सीमित हुनेछ ।


पहिले, करबारे थोरै चर्चा गरौं । सरकार चलाउन, विकास निर्माण लगायत जे कामका लागि पनि पैसा चाहिन्छ । सरकारले खर्च गर्ने पैसाको मुख्य स्रोत जनताबाट उठाइने कर हो । त्यसमा विवाद छैन । तर अहिले जसरी गाउँ/नगरपालिकाले कर लगाएको चर्चा छ, त्योचाहिँं वित्तीय अराजकतामात्र होइन, करको नाममा लुटतन्त्रकै एउटा रूप हो भन्दा फरक नपर्ला । उदाहरणका लागि हाम्रा अनेक परम्परागत कृषि तथा घरेलु कामकाजलाई लिन सकिन्छ, जुन अहिले पनि छन् । कसैले पानीघट्ट चलाउला, कसैले आरन जोड्ला वा कसैले आफ्नै घरको एउटा कबलमा पसल थाप्ला वा चिया बेच्ला । परम्परा र पारिवारिक उत्तराधिकारका रूपमा बस्दै र खनजोत गर्दै आएका घरजग्गा छन् । केही वस्तुभाउ, हाँस–कुखुरा पालेका होलान् । सर्वसाधारण मानिसका दैनिक गुजारासँंग जोडिएका जायजेथा हुन् ती । राज्यले त्यसमाथि सम्पत्ति कर लागाउन मिल्छ कि मिल्दैन, विवेकपूर्ण निर्णय अपेक्षित छ ।
दूरदराजबाट आएका खबरमा अघिल्लो वर्षसम्म १६ रुपैयाँ तिरेकामा यो वर्ष २ हजार पुग्यो, ७ रुपैयाँ तिरेको मालपोत यो वर्ष १ हजार पुग्यो भन्ने छ । आरन, चित्रा, डोका व्यवसाय घरेलु उद्योगमा दर्ता गर्नुपर्‍यो भन्ने छ । दर्ता गर्नलाई सिफारिस लिन १ हजार रुपैयाँ लाग्छ भन्ने छ । माझीको जालमा कर लगाइएको छ । यस्ता कुराले संघीयताको विपक्षमा औंला ठड्याइने करको बोझमात्र होइन, राज्यकै औचित्यमाथि प्रश्न उठ्छ । राज्यको सहजीकरण बिना नागरिकले परम्परागत रूपमा भोगचलन गर्दै आएको गाँसबाससँंग जोडिएको सम्पत्तिमाथिको कर जफत बराबर हो । उत्पादन र आम्दानीमा वृद्धि नगरी करको भारमात्र बढाउनुको औचित्य हुँदैन ।


प्रधानमन्त्री केपी शर्मा ओलीले करको कुरा अतिरञ्जना मात्र हो, त्यस्तो भयावह केही छैन भनेका छन् । संविधानले प्रदेश र स्थानीय सरकारलाई कर उठाउने अधिकार दिएकाले रोक्न सकिन्न पनि भने । तर उनैको मन्त्रिपरिषदले यस सम्बन्धमा अध्ययन कार्यदल गठन गरेको छ । यस्तै अर्को समिति अर्थ मन्त्रालयले बनाएको छ । कर आतङ्कबाट जनता भड्किएलान् भनेर सरकार आत्तिएको छ । यसरी जनताको कुराप्रति सरकार संवेदनशील हुनु राम्रो हो । तर संँगसंँगै न्याय र विवेकपूर्ण सुधार पनि अपेक्षित हुन्छ । सुधार बिनाको संवेदनशीलता नक्कली हुन्छ, हतप्रभताको दृष्टान्त पनि ।


सामाजिक सञ्जाल र सञ्चार माध्यमले टड्कारोगरी जनमत बनाउन तथा सरकारको ध्यान तान्न सहयोग पुग्नेगरी यो विषय उठाउनु स्वाभाविक हो । त्यो अतिरञ्जना होइन । झापाको गौरादह नगरपालिकाले मरेको बाख्रामाथि कर लगाएको होइन, मरेको बाख्राको बिमा रकम लिन आउनेलाई वडाले सिफारिस दिएबापत लिएको पैसा हो त्यो । तर त्यसका लागि नागरिकले २ सय ५० रुपैयाँ त तिर्नुपर्‍यो । सन्दर्भ मरेको बाख्राकै हो । समग्रमा यो त्यति भयावह नहोला । कतिपय गाउँ/नगरपालिकाले करको दर र सेवाशुल्क घटाएको खबर पनि त आएका छन् । ज्यादती नभएको भए घटाउनुपर्ने थिएन ।


हामी तीन तहको स्वायत्त सरकार अभ्यास र प्रयोगको प्रारम्भमै छौं । कतिपय कुरा अहिल्यै सच्याउन सकिन्छ, सुधार गर्न सकिन्छ । तीनवटै तहका सरकार यसका लागि खुला रहनु आवश्यक छ । स्थानीय करका सम्बन्धमा अहिले जे देखियो, त्योचाहिँ कानुनको अस्पष्टता वा प्रारम्भमा अनुभवको अभाव भनेर मात्र बुझ्नु हुँदैन । यसले हाम्रो शासकीय संस्कारमा कसरी विवेकको न्यूनता र गलत प्रवृत्ति मौलाएको छ भनेर पनि देखाएको छ ।


उठाइएको करबाट नगरपालिका, गाउँपालिका प्रमुख, अध्यक्षका लागि गाडी किनिएका छन्, उप र वडाध्यक्षका लागि मोटरसाइकल किनिएका छन् । तलब–भत्ताको कुरा पनि छ । खर्च गाडी र मोटरसाइकल किन्नुमात्र होइन । सवारी चालक, इन्धन र मर्मत–सम्भारको खर्च पनि संँगै आउँछ । राज्यको सुविधामा गाडी चढ्ने भोक र प्रतिष्ठा हाम्रो राजनीतिको अंग बनिसकेको छ । यो माथिबाट तल सरेको कुसंस्कार हो । तल पनि बिचौलिया र डनहरू पार्टीको आवरणमा छन् । तिनले केन्द्रीय नेतृत्वमाथि प्रभाव जमाएका छन् । विकास निर्माणमा हुने भ्रष्टाचारको चलखेल हेर्न बाँकी छ । यसको सहजै अन्त्य देखिन्न । राजनीति गर्नेको सेटै परिवर्तन गर्नुपर्ने हुन्छ ।


स्थानीय सरकारले अनियन्त्रित रूपमा लगाएको करलाई लिएर संघीयता धरापमा परेका राजनीतिक टिप्पणी सुनिन्छ । केही साता पहिले वीरगन्जमा उद्योगी व्यापारीको कर सम्बन्धी गुनासो सुन्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, संघीयतालाई बदनाम गर्ने र अन्तत: काम नलाग्ने भनेर फ्याँक्ने षडयन्त्र भैरहेछ । यस्तै अभिव्यक्ति प्रधानमन्त्री लगायत प्रदेशका मन्त्रीहरू दिंँदैछन् । संघीयता कार्यान्वयनमा संघीय सरकार उदासीन रहेको गुनासो प्रदेशका मुख्यमन्त्रीहरूको पनि छ । उनीहरूले मुख्यतया तीनवटा कुरा उठाएका छन्— कर्मचारी व्यवस्थापन, बजेट र वित्तीय हस्तान्तरण । कर्मचारीमाथि संघीय सरकारले पुरै नियन्त्रण गरेको छ । कतिखेर को आउँछ, जान्छ वा बिदामा बस्छ, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई पत्तो हुँदैन । प्रदेश सरकारको भौतिक पूर्वाधार छैन, न त्यसका लागि बजेट छ । यसको वित्तीय व्यवस्था संघीय सरकारले दिने अनुदानमा आश्रित छ । उसका लागि सबैभन्दा ठूलो आयस्रोत सवारी साधनमाथिको कर भएको छ । अनौपचारिक भेटघाटमा उनीहरू सुनाउँछन्, सरकारको केन्द्रीय नेतृत्व संघीयता कार्यान्वयनमा इमानदार भएन । हुन पनि केन्द्रीय सरकारले गर्नुपर्ने धेरै काम बाँकी छ । वित्त आयोग बनेको छैन । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐनका प्रावधान राम्ररी पालना भएको छैन । सरकारले प्रदेश र स्थानीयलाई दिएको अनुदान हचुवाको भरमा छ ।


हाम्रो कर प्रणाली केन्द्रीकृत ढाँचाको छ । स्थानीय र प्रदेशले कर लगाउने ठाउँ धेरै छैन । तर सम्पत्ति, कृषि र व्यवसाय भनेर यति व्यापक क्षेत्राधिकार पाएका छन्, त्यसबाट मान्छे त के चरा–मुसा पनि उम्किने ठाउँ छैन । अहिले अनियन्त्रित कर र त्यसको अतिसारको स्रोत यही हो । संविधान बनाउने क्रममै प्रदेश र स्थानीय सरकारको सन्दर्भमा यो धेरै अनुदार भयो भनेर आलोचना भएको थियो । अहिले यही पनि बढी भएछ भन्ने पुष्टि हुँदैछ ।


केन्द्रीकृत कर प्रणाली आफैंमा खराब होइन । हाम्रो जस्तो असमान विकास र राजस्व उठ्ती भएको देशमा केन्द्र अर्थात् संघीय कोषमा बढी राजस्व उठाउनु भनेको त्यसको पुनर्वितरणलाई न्यायपूर्ण र समानीकरण सहज बनाउनु हो । अन्यथा यसको फाइदा केही प्रदेश र नगर/महानगरमा सीमित हुने सम्भावना रहन्छ । केन्द्रीय कोषमा धेरै रकम जम्मा हुनु भनेको त्यो सबै संघीय सरकारबाटै खर्च गर्ने भन्ने पनि होइन । यसको पुनिर्वितरणको सिद्धान्त, अनुपात तोक्ने काम संविधानले प्राकृतिक स्रोत तथा वित्त आयोगलाई दिएको छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐनले संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्व र प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडको अनुपात तोकिदिएको छ । केवल कुन प्रदेश र कुन गाउँ/नगरपालिकाले के कति पाउने भनेर किटान गर्ने काम बाँकी छ । यसको अर्थ हो, आयोग प्रशासकीय प्राविधिकतामा मात्र सीमित हुने देखिन्छ ।


हामीले तीन तहको संघीयता भन्यौं । यी तीनैवटा अलग–अलग संरचना हुन् । संघीयताको सिद्धान्त र अभ्यासले यसलाई जोड्न र समन्वय गर्न सक्छ । स्थानीय सरकार संघीयताको अभिन्न अंग होइन । संघीयता नभए पनि स्थानीय सरकार रहन्छ, चाहिन्छ । तर प्रदेशको संरचना हटाइदिने हो भने संघीयताको कुनै अंश बाँकी रहन्न । तसर्थ स्थानीय सरकारले बढाएको कर ज्यादतीका आधारमा संघीयताबारे अभिमत बनाउने कुरा गलत र असान्दर्भिक हो । बदनियतपूर्ण हो । संघीयताको सार्थक अभ्यास र प्रयोग प्रदेशमा खोज्नुपर्छ, जुन अलमलमा छ ।


प्रदेश–२ मा बाहेक ६ वटै प्रदेश र संघीय तहमा एउटै पार्टी अर्थात् नेकपाको सरकार छ । प्रदेश–२ को नेतत्व गर्ने संघीय समाजवादी फोरम पनि संघीय सरकारमा छ । संघीयताको कस्तो अभ्यास विकास हुन्छ भन्ने कुरा नेकपाको नेतृत्वमा बस्नेहरूको बुझाइ, चाहना र प्राथमिकतामा धेरै निर्भर गर्छ ।

पाठक मञ्च

कस्तो सरकारी नीति ?

- कान्तिपुर संवाददाता

बिहीबार प्रकाशित ‘प्रेसमाथि झनै अंकुश’, ‘सामाजिक सञ्जाल चलाउँदै सरकार’ र ‘सेयर गर्नेलाई थुनामा राख्न ५ दिन म्याद’ समाचार पढेपछि हाम्रो राज्य सञ्चालकहरूको मनस्थिति बुझ्न सजिलो हुन्छ । एकातिर सरकार सामाजिक सञ्जाल– फेसबुक, ट्विटर, भाइवरमार्फत जनगुनासा सुनुवाइ गर्न सामाजिक सञ्जाल सञ्चालन निर्देशिका जारी गर्दैछ भने अर्कोतर्फ गोपनीयता सम्बन्धी विधेयकमार्फत सूचना संकलन गर्न असहज हुनेगरी प्रावधान राखेको छ । त्यस्तै फेसबुकमा प्रधानमन्त्रीको फोटो बिगारी सेयर गरेको आरोपमा काभ्रे रोशी–५, का वडा सचिव होमनाथ सिग्देललाई ५ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतबाट म्याद दिएको खबर पनि सँंगसँंगै प्रकाशित भएको छ । यसबाट सरकारको खास नीति कुनचाहिँ हो ? सरकारी असली नियत के हो ? भनी सर्वसाधारणले कसरी बुझ्ने ?


एकातिर सामाजिक सञ्जालामार्फत गुनासा अनि सुझाव लिने भनिएको छ भने अर्काेतिर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही चलाइएको छ । यसले आम कर्मचारी, सर्वसाधारणमा समेत त्रास सिर्जना भएको छ । वडा सचिव सिग्देलको फेसबुक प्रयोग विद्युतीय कारोबार ऐन अन्तर्गत दण्डनीय हो भने अब पत्रपत्रिकामा प्रकाशित कार्टुन र ती कार्टुन राम्रो लागेर सेयर गर्ने सबै सरकारको निसानामा नपर्लान् र ? कार्टुनिस्ट क्लबले यसबारे आधिकारिक धारणा बनाएको खोइ ? निकट भविष्यमा गाईजात्रा आउँदैछ, के अब यो देशमा सरकारमा बस्नेहरूलाई गाईजात्रे व्यङ्ग्य गर्न पनि नपाइने हो ? व्यङ्ग्यकारहरूले खोइ आधिकारिक धारणा बनाएको ? प्रेसमाथि अंकुश लगाउनु भनेको जनताको सुसूचित हुने अधिकार माथिको अंकुश हो ।


राज्यको चौथो अंगले खबरदारी नगर्ने हो भने राज्यको कामकारबाहीको स्वेच्छाचारितामाथि निगरानी कसले गर्ने ? आम जनताले वास्तविकता कसरी थाहा पाउने ? सार्वजनिक निकायहरूमा भए/गरेका कामकारबाहीलाई समेत व्यक्तिगत गोपनीयताको परिभाषामा राखेपछि राज्यका कामकारबाहीप्रति नागरिकले कसरी सुसूचित हुने ? नागरिकको सूचनाको हकको ग्यारेन्टी खोइ ? सूचनाको हक र व्यक्तिगत गोपनीयताको हक विपरीत ध्रुवीय हक हुन् र ? सूचनाको हक सम्बन्धी कानुनले आफ्नो वा सार्वजनिक महत्त्वको विषयमा नागरिकलाई सूचनाको हक दिएको छ । व्यक्तिगत गोपनीयताको विषयले सूचनाको हकलाई काट्न वा सीमित गर्न मिल्ला र ?


सूचनाको हक सम्बन्धी ऐनले ५ प्रकारका सूचना गोप्य रहने र थप सूचना गोप्य राख्नुपर्ने अवस्था आएमा सूचनाको वर्गीकरण गर्न सकिने व्यवस्था गरेको छ । तर सरकारले अहिलेसम्म कुनै पनि सूचनालाई वर्गीकरणको प्रक्रियामा लगेको छैन । सिधै गोपनीयताको हक सम्बन्धी कानुनले सार्वजनिक महत्त्वको विषयमा पनि सूचना गोप्य हुने व्यवस्था गरेबाट विधेयकको व्यवस्था संविधानको मूल मर्म र सूचनाको हकसँंग बाझिएको छ । यसमा सूचनाको हकको कानुन कार्यान्वयनको लागि ऐनद्वारा स्थापित राष्ट्रिय सूचना आयोगले सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने होइन र ? जनआन्दोलन पश्चात आएको लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थामा शासन सञ्चालन गर्नेहरूले राज्यको चौथो अंगको रूपमा रहेको सञ्चार जगतलाई स्वतन्त्र निगरानी गर्ने जिम्मेवारी सुम्पनसके मात्र सरकारी कामकाजको प्रतिफल आम नागरिकले पाएको अनुभूति गर्नसक्ने गरी सुसूचित होलान् । अन्यथा नागरिकको सुसूचित हुने अधिकारमाथि अंकुश लागेमा लोकतन्त्र कमजोर हुनेछ र राज्य अलोकप्रिय हुनसक्छ ।
– नोदनाथ त्रिताल
चौबिसे गाउँपालिका–३, धनकुटा
***


सार्वजनिक सरोकारका मुद्दामा चासो राख्ने एक व्यक्तिको उजुरीको आधारमा काभ्रे, रोशी–५ का वडा सचिव होमनाथ सिग्देललाई प्रधानमन्त्रीको टाउको जनावरको शरीरमा जोडिएको फोटो सेयर गरेको आरोपमा महानगरीय अपराध महाशाखाले विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत साइबर क्राइम अन्तर्गत प्रकाशन गर्न नहुने सामग्री प्रकाशित गर्‍यो भनी पक्राउ गरेछ । उक्त फोटो पोस्ट गर्ने व्यक्ति भने पक्राउ परेका छैनन् । यसै सन्दर्भमा कानुन विज्ञहरूको अनुसार विद्युतीय कारोबार ऐनको प्रयोगमा अभिव्यक्ति स्वतन्त्रताको कुरा पनि सँगसँगै हुनुपर्छ र सार्वजनिक पदमा बस्नेहरू आलोचना सहन सक्ने हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका छन् ।


सामाजिक सञ्जालमा त्यसका प्रयोगकर्ताले देखिएका पोस्टहरू लाइक गर्ने, सेयर गर्ने गर्छन् । तर अबदेखि नेपाली प्रयोगकर्ताले सामग्री र फोटो पोस्ट, लाइक वा सेयर गर्दा एकपटक भदौ १ गतेदेखि लागु भएको मुलुकी संहिता सरसर्ती अध्ययन गर्नु जरुरी छ । अन्यथा समय बिताउन प्रयोग गर्ने गरिएको सामाजिक सञ्जालले जञ्जालमा फँसाउन बेर छैन ।
– महेन्द्रसिंह बम
टीकापुर–१, कैलाली

पाठक मञ्च

‘म नै राज्य हुँ’ भन्ने सोच

- कान्तिपुर संवाददाता

बिहीबार प्रकाशित डा. गोविन्द केसीको ‘सरकारलाई तीन आग्रह’ले नेपाली राजनीतिको रवैयालाई उजगार गरेको छ । वास्तवमा यो लेखले राज्यसत्ताको दायित्व, प्रतिबद्धता र उसको अन्तर्यको तारतम्यता कति संशयकारी छ भन्ने पोल पनि खोलेको छ । कुनै पनि राज्यसत्ता जनतामा समर्पित छ भनी ब्यापक प्रचार गरिन्छ । राणाकालको रवैयालाई बिर्सिदिने हो भने २००७ साल यताको सत्ताको रवैया पनि लुइपथभन्दा कमजोर दृष्टान्तको रूपमा जनताले अनुभूत गर्न पाएका छैनन् । शाही र पञ्चायती सत्तामात्र होइन, राष्ट्रियता, लोकतन्त्र, समाजवाद, साम्यवाद आदि–इत्यादि नारामा जनआन्दोलन र सशस्त्र संघर्ष गर्ने नायकहरू पनि सत्ता सञ्चालनमा पुगेपछि हिजो जनताप्रति गरेका कबोलहरूलाई नजरअन्दाज गर्दारहेछन् भन्ने कुरालाई डा.केसीको लेखले छर्लङ्ग पारेको छ । स्वास्थ्य, शिक्षा, न्याय, सञ्चार र सामाजिक सुरक्षामा ओली सरकार कति संवेदनशील रहेको छ भन्ने कुरा धेरै टाढा जानु पर्दैन । भदौ १ गतेदेखि लागु गरिएको मुलुकी ऐन विस्थापनार्थ ल्याइएको नयाँ कानुन त्यसको ज्वलन्त उदाहरण बनेको छ । लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सञ्चार जगतलाई शाहीकालको सेन्सरसिपभन्दा पनि खतरनाक अङ्कुश लगाउने षडयन्त्र यस कथित नयाँ कानुनमा रहेको छ । त्यसैगरी चिकित्सक र बिमारी बीचमा मनोमालिन्य हुर्काउने र चिकित्सा क्षेत्रलाई तहस–नहस पार्ने हर्कतमा नयाँ कानुन उदात्त हुनेमा दुईमत छैन ।
– नारायण निरौला
विराटनगर

पाठक मञ्च

बाटा बन्द भएका होइनन्

- कान्तिपुर संवाददाता

बिहीबार प्रकाशित ‘बन्द भए पशुपतिका सांस्कृतिक बाटा’ भ्रमपूर्ण छ । वेद विद्याश्रमको दक्षिणतर्फको खुल्ला प्राङ्गणमा सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै पर्खाल लगाइएको छ । फेरि त्यहाँ पर्यटकीय प्रहरी बिट र ठूलो बाटोसँगै एउटा द्वार पनि छ । इता पाखाबाट वेद विद्याश्रमतर्फ प्रवेश गर्ने खुल्ला अव्यवस्थित बाटोबाट खराब व्यक्तिको पनि प्रवेश हुने र तिनीहरूको अवाञ्छित क्रियाकलापले विद्यालयले बारम्बार समस्या भोगिरहेको थियो । त्यहाँ रहेको द्वारमा लगाइएका ताला बारम्बार फोडिने गरेका छन् । यसको जिम्मा कसले लिने ? फेरि इता पाखाबाट वेद विद्याश्रममा दैनिक आवत–जावतको कार्य पनि हुँदैन । त्यो कहिलेकाहीं जात्रापर्वमा मात्र प्रयोग हुन्छ । त्यसको लागि व्यवस्थित द्वारबाटै आवत–जावत गर्न सकिन्छ । विद्यालयमा आवासीय रूपमा शिक्षक, विद्यार्थी र कर्मचारी गरी लगभग १०० जनाको बसोबास छ । विद्यालय र ती सबैको सुरक्षामा खुल्ला बाटोले निरन्तर व्यवधान गरिरहेको थियो । विद्यालय प्रवेशका लागि व्यवस्थित दुइटा द्वार छन् । ती पर्याप्त छन् । सांस्कृतिक बाटो बन्द भएको नभई यसलाई व्यवस्थित रूपमा प्रयोग गर्न खोजिएको हो ।
– घिमिरे शिव
वनकाली गौशाला, काठमाडौं

पाठक मञ्च

कृषक बजार व्यवस्थापक आवश्यक

- कान्तिपुर संवाददाता

हाम्रो देश कृषि क्षेत्रमा ठूलो सम्भावना बोकेको देश हो । यद्यपि किसानले भने दु:ख सहनु बाहेक केही छैन । सिन्डिकेटधारी बिचौलियाको आतंकले गर्दा सरकार र उपभोक्तको समबन्ध र विश्वसनीयता कृषकबीच निकै कम भएको छ । मिहेनती कृषकहरूलाई कृषि क्षेत्रमा धेरै प्रोत्साहन गराउन जरुरी छ । राज्यले युवाहरूलाई कृषि क्षेत्रमा प्रोत्साहन गराएन भने केही समयपछि उत्पादित वस्तुहरू विदेशी भूमिबाट ढुवानी गर्दा अहिलेको वृद्धि मूल्यभन्दा दोब्बर नहोला भन्न सकिन्न । सरकारी मातहतमा रही राज्यले युवाहरू समावेश गरी स्थानीय तहबाटै लोकसेवा आयोगमार्फत स्थानीय, प्रदेश र केन्द्रीय तहसम्मको कृषि बजार व्यवस्थापक, कृषि बजार प्रतिनिधि लगायत कृषकलाई उचित सल्लाह, सुझाव दिने कृषिविज्ञको छनोट र परिचालन अहिलेको आवश्यकता हो ।
– सञ्जय त्रिपाठी
बरहथवा–१५, सर्लाही

पाठक मञ्च

लोकप्रिय नाराको जोखिम

- कान्तिपुर संवाददाता

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले १०० दिनमा १०१ काम गरेर देखाउने सार्वजनिक घोषणा गरे । उता २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि १०० दिनमा थुप्रै काम गरेर देखाउने भनी लिखित प्रतिबद्धता नै व्यक्त गरे । दिन बिते, महिना बिते, तर उनीहरूले बोलेको १० प्रतिशत काम पनि पूरा भएन । आधार बिनै हचुवा तालमा बोलेका कुरा यसरी नै केवल कागजमा सीमित हुन्छन् भन्ने कुरा अन्य नेताले पनि बेलैमा सिक्दा राम्रो हुन्छ । शाक्य र लालबाबुको नियतिझैं अब प्रधानमन्त्री ओलीको पनि हुनथालेको छ । ओली धेरै बोल्छन्, तर काम त्यो अनुरूप भइरहेको छैन । उनको शासनकालको ६ महिनामा आम जनताले कुनै राहतको अनुभव गर्न पाएका छैनन् । महँगीेले जनता आक्रान्त छन् । स्थानीय सरकारको अनावश्यक करले पनि धेरैलाई पिरोलेको छ ।


आफ्नो व्यक्तिगत खल्तीबाट जाने होइन, के भयो त भन्दै असम्भव र पुरै गर्न नसक्ने नारा दिँदा भोलि त्यसले देश र जनतामा कति भार थप्छ भन्ने कुराको हेक्का राखेको देखिँदैन । यसले अन्तत: नेपाललाई ग्रीस र भेनेजुयलाजस्तो असफल राष्ट्र बनाउनेछ । जहाँ नेताहरूले गरेका अनावश्यक नाराले आज राज्यकोषको भार बढेर राज्य नै उठ्न नसक्ने अवस्थामा पुगेको छ । सरकार र सबै जनप्रतिनिधिले बेलैमा सोच्नुपर्छ ।
र एकरूपता दिने नीति लिनुपर्छ ।
– गोपाल देवकोटा
गोकर्णेश्वर–८ जोरपाटी, काठमाडौं

पाठक मञ्च

प्रधानमन्त्रीका रेल सपना

- कान्तिपुर संवाददाता

आगामी २ वर्षमा रेल गुड्छ भन्ने प्रधानमन्त्रीको भनाइ सुन्दा हाँसो उठेर आयो । २ वर्षमा रेखांकन त हुन्छ, रेल परियोजनाको ? बोलीपिच्छे नयाँ–नयाँ योजनाको हचुवाको भरमा घोषणा गर्‍यो अनि कार्यान्वयनचाहिंँ नगर्ने कस्तो सोच हो यो ? पूर्व–पश्चिम र उत्तर–दक्षिण रेलको सञ्जालले मुलुक जोड्ने हो भने त्यसका लागि इच्छाशक्ति कति छ, प्रधानमन्त्रीको ? खुट्टी हेर्दै हुति थाहा हुन्छ भनेझैं अघिल्ला योजना कहाँ–कहाँ सफल भए ? एकपछि अर्को योजना थप्यो, तर सिन्को नभाँच्ने हो भने किन बोल्नु कसैले ? मानौं ल रेल कुद्ने नै भयो रे । तर तराईमा त्यसले निम्त्याउने वन विनाश रोक्ने कसरी ? वनजंगल क्षेत्रमा भूमिगत रूपमा ट्रयाक खोल्न सकिन्छ कि सकिन्न ? लाखौं–लाख हरिया रुख काटेर तराई क्षेत्र कतै मरुभूमि त बनाउने उद्देश्य होइन ? चुरे दोहनले त्यसै थला परेको त्यो उर्वरभूमि किन अझ उजाड बनाउनु ?
– डिल्लीराम खनाल
दमक, झापा

पाठक मञ्च

तरकारी बजारको बेथिति

- कान्तिपुर संवाददाता

कालिमाटी तरकारी बजारमा सञ्चालक समितिबाट सोर्सफोर्स, पैसा र पाखुरीका बलले थोरै मूल्य तिरी आफूले हत्याएर लाख रुपैयाँसम्ममा भाडामा लगाएर तरकारीमा दिनदहाडै लुट गर्ने गरेका कारण तरकारी बारीमा उही पैसाले ५ किलो आउने तरकारी कालिमाटी हुँदै उपभोक्ताको भान्सामा आइपुग्दा १ किलोमात्रै मुस्किलले आउने गरेको खुलासा भयो । उदाहरण मानौं, खेतबाट १० रुपैयाँमा खरिद गरिएका गोलभेडा ५० रुपैयाँ र २५ रुपैयाँको काउली १२५ तिर्दै धेरैजसो बिक्री हुँदोरहेछ भन्ने जान्दाजान्दै उपभोक्ताहरू ठगिँदै गरेका वर्षौं हुँदा पनि उचित कारबाहीको दायरामा नल्याउनु विडम्बना थियो । महँगो स्टल भाडामा किनेपछि सावाँ, व्याज र लगानी उठाउन लादिएको मोल तिर्न कालिमाटीका तरकारी व्यापारीले कहाली लाग्नेगरी मूल्य अकास्ने गरेको यथार्थ बल्ल पुष्टिएको छ । एउटाले स्टल हत्याएर दोस्रो व्यक्तिलाई दिने, उसले पनि तेस्रो, चौथो व्यक्तिलाई दिई नाफा खाँदै–खाँदै दिने गरिएका कर्तुत यसअघि पनि नखुलेका होइनन् । तरकारी बजारको स्टल भाडामा लिँदा–दिँदा जुन घोटाला हुने गरेको छ, त्यसले पनि तरकारी महँंगो बनाएको हो ।
– श्यामसुन्दर कुइँकेल
हाँडीगाउँ, काठमाडौं

पाठक मञ्च

इमरानको सकारात्मक कदम

- कान्तिपुर संवाददाता

पाकिस्तानी सैनिकको सहयोगमा प्रधानमन्त्री बन्न पुगेका भनिएका इमरान खानले प्रधानमन्त्रीसँंग भएका ३३ बुलेट प्रुफसहित ८० कार र अतिरिक्त हेलिकप्टर बेचेर त्यो रकम गरिब र विपन्नको शिक्षा र स्वास्थ्यमा खर्चने भनी वाचा गरिरहँदा कम्युनिस्ट नामधारी नेपाल सरकार भने निजी विद्यालय र त्यसका सञ्चालकलाई पोस्नेगरी शिक्षा विधेयक संशोधन गर्दैछ भने कम्युनिस्ट सरकार मातहतका स्थानीय तहका प्रमुखहरू भने धमाधम सुविधाका लागि सवारी साधन किन्नमा ब्यस्त छन् । दुई तिहाइ बहुमतधारी कम्युनिस्ट सरकार जनमुखी र सैनिक बलमा बनेको अल्पमतको सरकारको निर्णय जनविरोधी हुनुपर्ने हो, तर ठिक उल्टो भइरहेको छ । बेलैमा नसच्चिए पछुताउनुपर्ला ।
– कपिल केसी
विदुर–८, नुवाकोट

पाठक मञ्च

बादीको बेइज्जत

- कान्तिपुर संवाददाता

गत साउन २६ गते वसन्तप्रताप सिंहद्वारा लिखित ‘बादीको व्यथा’ समाचारले राष्ट्रिय बादी परिषद् तथा सम्पूर्ण बादी समुदायको ध्यानाकर्षण भएको छ । लेखकले ७ नं. प्रदेश बझाङ जिल्लाको जयपृथ्वी नपा, चैनपुर र थलारा गाउँपालिकाको खोलीमा बसोबास गर्ने बादी समुदायको आर्थिक अवस्था, गरिबी, बालबालिकाको शैक्षिक अवस्था, केही बालबालिकाको कम उमेरमा विवाह हुने गरेको, बालबालिकाले सानै उमेरमा बालमजदुरको रूपमा ज्यालामजदुरी गरेको कुरा प्रकाशनमा ल्याएर जनचेतना जगाउनु स्वाभाविक मान्न सकिन्छ । तर ‘बादीको व्यथा’मा उल्लिखित बादी महिला देह व्यापारमा संलग्न छन् । श्रीमान् नै सेटिङ मिलाइरहेका हुन्छन् भन्ने कुराले गम्भीर ध्यानाकर्षण गराएको छ ।


सरकारले २०६५ पुस २३ गते यस बादी समुदायलाई यौन शोषणमुक्त समुदाय घोषणा गरी यस समुदायका केही अविवाहित युवतीहरूमा भएको यौन शोषण (कथित देह व्यापार) लाई अन्त्य भएको घोषणा गरेको छ र सोही दिनदेखि बादी समुदाय यौन शोषणरहित समुदायको रूपमा प्रतिस्थापित भएको अवस्था अवगत हुँदाहुँदै पनि यस प्रकारको समाचार लेख्नु अवैधानिक र गैरकानुनी, विवाहित महिलाले देह व्यापार गर्छन् भनी प्रचार गर्नु र कुनै समुदायको आत्मसम्मानमा चोट पुर्‍याउनु नियतवश गरिएको लाञ्छना, भेदभाव, विभेद र शोषण हो । यस प्रकारको अवैधानिक, विभेदयुक्त कपोकल्पित लेख, रचना तथा समाचारको राष्ट्रिय बादी परिषद् तथा सम्पूर्ण बादी समुदाय घोर भत्र्सनाका साथ विरोध गर्छ र खेद प्रकट गर्छ ।
– केशव नेपाली
अध्यक्ष, राष्ट्रिय बादी परिषद्
***


प्रकाशित सामग्रीबाट कसैलाई चोट पर्न गएमा क्षमा माग्छु र मेरो लेखाइको तात्पर्य त्यस्तो नभएको अवगत गराउन चाहन्छु ।
– संवाददाता

Page 7
विविधा

गोपनीयताको गन्तव्य कता ?

शैक्षिक प्रमाणपत्रलाई गोप्यताभित्र व्याख्या गर्ने–गराउने हो भने राज्यले ठूलो धनराशि खर्च गरेर दीक्षान्त समारोह गराउने चलन नै बन्द गर्नुपर्‍यो ।
- लीला लुइँटेल

गत सोमबार प्रतिनिधिसभामा ‘वैयक्तिक गोपनीयताबारे व्यवस्था गर्न बनेको विधेयक’ सरकारले संसद्मा दर्ता गरेको समाचारले केही सोच्न बाध्य गरायो । सार्वजनिक पद धारण गरेका व्यक्तिको शैक्षिक प्रमाणपत्र खोज्न र सार्वजनिक गर्न नपाइने प्रावधान प्रस्तावित विधेयकमा गरिएको रहेछ । राज्यको ढुकुटीबाट तलब–सुविधा पाउने व्यक्तिको शैक्षिक प्रमाणपत्र र अन्य व्यक्तिगत विवरणसमेत गोप्य राख्ने यो कस्तो व्यवस्था गर्न खोजिएको हो ?


सार्वजनिक भनेकै सर्वसाधारण जोसुकैले पनि चाहेको बेला जानकारी पाउनुपर्ने मेरो अल्पबुझाइ छ । होइन भने संविधानले व्यवस्था गरेको ‘सूचनाको हक’ एवं ‘सुसूचित हुने अधिकार’ भनेको के हो ? सार्वजनिक पद धारण गरेका कतिपय उच्चपदस्थ व्यक्तिका शैक्षिक प्रमाणपत्र नक्कली भेटिइरहेका बेला यस्तो विधेयक दर्ता गराउनुले सरकार स्वयंले नै यस्ता गलत क्रियाकलापलाई बढावा दिन प्रयास गरिरहेको संकेत गर्दैन र ? लाभका पदमा रहेका राजनीतिक नेता, उच्चपदस्थ र सरकारी कर्मचारीले आफ्ना कमजोरी सार्वजनिक नहोस् भन्ने निहित स्वार्थले विधेयकमा यस्ता विवरणलाई गोप्य रहने सूचीमा राख्ने व्यवस्था प्रस्ताव गरेको हो भने यो सोह्रैआना गलत दृष्टिकोण हो । यस्ता पदाधिकारीले खाने तलब–सुविधामा गरिब एवं निमुखा जनताको पसिना परेको हुन्छ । यस्ता कुरा जानकारी प्राप्त गर्नु जनताको अधिकारभित्रै पर्छ ।


व्यक्तिगत जीवनका गोप्यताभित्र शैक्षिक प्रमाणपत्र नपर्नुपर्ने हो । राज्यले जारी गरेको शैक्षिक प्रमाणपत्र कसरी गोप्य हुन्छ ? यदि शैक्षिक प्रमाणपत्रलाई गोप्यताभित्र व्याख्या गर्ने–गराउने हो भने राज्यले ठूलो धनराशि खर्च गरेर दीक्षान्त समारोह गराउने चलन नै बन्द गर्नुपर्‍यो । होइन भने शैक्षिक प्रमाणपत्र भनेको त गौरवको विषय हो र जतिबेला जसलाई पनि देखाउन सकिने विषय हो । अहिले दर्ता गरिएको विधेयकमा यो व्यवस्था पास भएमा नक्कली प्रमाणपत्रधारीहरूको मनोबल बढ्ने, राज्यका हरेक क्षेत्रमा तिनकै हालिमुहाली चल्ने अनि योग्य एवं सक्षम व्यक्तिहरूचाहिँ पलायन भएर डिप्रेसनमा जानसक्ने सम्भावनातर्फ किन कसैको पनि ध्यान नगएको ?


अर्काेतर्फ यो कानुन लागु भएपछि जेल सजाय भुक्तान गरिसकेका व्यक्तिको आपराधिक पृष्ठभूमिसमेत सञ्चार माध्यममा प्रकाशन र प्रसारण गर्न पाइने छैन । यसको अर्थ भ्रष्ट आचरणका आसेपासे व्यक्तिलाई चोख्याउने र तिनलाई सार्वजनिक महत्त्वको उच्च पदमा पुन: नियुक्त गर्ने नियतले यस्तो व्यवस्था गरिएको हो भन्ने बुझ्न कठिन हुँदैन । अनि पक्राउ परिसकेपछि पनि आदेशबिना घरमा खानतलासी गर्न नहुने व्यवस्थाले आदेशको प्रतीक्षामा यस्ता अपराधीले प्रमाणहरू नष्ट गर्न सक्नेतर्फ पनि सबैको ध्यान जानु जरुरी देखिन्छ ।
विधेयकमा जात, जाति, नागरिकता, जन्म, उत्पत्ति, धर्म, वर्ण, वैवाहिक स्थिति, शैक्षिक उपाधि, ठेगाना, मतदाता परिचयपत्रलाई गोप्य रहने वैयक्तिक सूचनाका रूपमा राखिएको छ । यस व्यवस्थाले अब नाम पनि गोप्य राखिनुपर्छ भनेको हो ? सवारी चालक अनुमतिपत्र जस्ता कागजातलाई समेत गोप्य भनेर व्याख्या गर्दा सवारी चालक अनुमति पत्रको जाँच गर्दा ट्राफिक प्रहरीलाई पनि अप्ठ्यारोमा पार्ने स्थितिको सिर्जना हुनेतर्फ पनि सोच्नु आवश्यक छ ।


चरित्र सम्बन्धी गोपनीयता सुरक्षित गरिएको भनिएको विधेयकमा कुनै व्यक्तिको चरित्र एवं आचरणमा प्रश्न उठाउन नपाउने प्रावधान गरिएको छ । यस सन्दर्भमा रात बिताउनेगरी बसेको घर, अपार्टमेन्ट, होटल, रिसोर्ट, लज, पाहुना घर, शिविरको कोठामा प्रहरीले बिना प्रयोजन र लिखित सूचनाबिना खानतलासी गर्न नपाउने प्रावधान राखिएको छ । यस प्रावधानले आपराधिक क्रियाकलापलाई बढावा दिने स्पष्टै देखिन्छ । यसले आपराधिक क्रियाकलापलाई राज्यबाटै सङ्गठित रूपमा मान्यता दिन लागिएको शङ्का गर्ने ठाउँ रहन्छ कि रहँदैन ? जनताको पसिना शोषण गरेर अकुत सम्पत्ति जम्मा गरेका सार्वजनिक पदधारी अपराधीहरूले त्यस्ता कालो धन खर्च गर्ने र सिध्याउने ठाउँ भनेको नै होटल, लज, रिसोर्ट एवं क्यासिनो हुन् । त्यस्ता ठाउँमा खानतलासी गर्ने स्थितिलाई खुम्च्याएर प्रहरीलाई स्वतन्त्र हुन नदिने स्थितिको सिर्जना गरिएको अपराधीलाई उम्किन समय प्रशस्तै दिनकै लागि हो त ?
मञ्जुरी लिएर सूचना प्रयोग गर्दा पनि जुन प्रयोजनका लागि सूचना सङ्कलन वा प्राप्त गरेको हो, त्यही प्रयोजनमा प्रयोग गर्नुपर्ने व्यवस्था विधेयकमा छ । यसले एउटै व्यक्तिले गरेको आपराधिक सूचना सङ्कलनका लागि राज्यको जनशक्ति र ढुकुटीको दुरुपयोगका दृष्टिले यो कतिसम्म व्यावहारिक हुन्छ ? सार्वजनिक पदमा रहेका व्यक्तिको उमेर, योग्यता, चरित्र, यौनिकता आदिका विषयमा प्रश्न उठेमा अधिकार प्राप्त अधिकारीले मात्रै माग गरेमा उपलब्ध गराउनुपर्ने व्यवस्था विधेयकमा गरिएकाले अधिकार प्राप्त व्यक्ति भ्रष्टाचारमा मुछिने सम्भावना हुन्छ कि हुँदैन ? त्यस्तै बैंक खाताको विवरण र कारोबार, चल–अचल सम्पत्तिको स्वामित्व र कागजातलाई पनि विधेयकले व्यक्तिगत गोपनीयताभित्र राखेर सार्वजनिक नगर्ने हो भने सार्वजनिक ओहदामा रहेका व्यक्तिको सम्पत्ति विवरण प्रस्तुत गर्नुपर्ने नाटक केका लागि ?


सरसर्ती हेर्दा उक्त विधेयकका माध्यमबाट किर्ते, जालसाजी तथा झुठको खेती गरेर अपराधलाई अझै कानुनी रूपमै बलियो पार्न खोजिएको भान हुन्छ । सार्वजनिक पदमा रहेका व्यक्तिले कस्तो गाडी चढ्छ र कस्तो लुगा लगाउँछ भन्नेमात्रै जानकारी पाउनु नै सूचनाको हक अन्तर्गत पर्ने हो ? ‘सार्वजनिक पदधारी व्यक्तिका चरित्रबारे कसैले कुनै टिप्पणी गर्न हुँदैन’ भन्ने प्रावधानले उहिले राजतन्त्रका विरुद्धमा बोल्न नपाइने पञ्चायती भूत जागेर आएको अनुभव हुन्छ कि हुँदैन ? अझ भन्ने हो भने एक्काइसौँ शताब्दीको विद्युतीय सञ्चारको युगमा जनताको सुसूचित हुने अधिकारको व्याख्या यो विधेयकले कसरी गर्छ होला ?

विविधा

के हो लोकतन्त्र, के होइन

तानाशाही, एकतन्त्री शासनमा सरकार छाडा हुन्छ, फुक्का हुन्छ । लोकतन्त्रमा बाँधिएको हुन्छ ।
- श्रीकृष्ण अनिरुद्ध गौतम


साँच्चै लोकतन्त्रकै बारेमा विमर्श गर्ने हो भने यस पद्धतिमा एउटै मान्छे दोहोर्‍याइ, तेहोर्‍याइ सत्तामा बसिरहन मिल्दैन, हुँदैन । नत दलको सत्तामा न राज्यको । न प्रदेशको न स्थानीयको । राज्यसत्ता एउटै, एकैथरी मान्छेले ओगटेर बसिरहन पाइँदैन । मानिस फेरिइरहनुपर्छ, नित्य नवीनता, नवज्ञान र नवजीवन लोकतन्त्रका आत्मगुणहरू हुन् । सिद्धान्तत: भनेको किनभने व्यवहारमा, त्यो पनि दक्षिण एसियामा कहिलेकाहीं अल्पसमयमा बाहेक र त्यसमा पनि नेपाल र भारतमा यस आदर्शको परिपालन भएको भोग्न त परै देख्नसम्म दुर्लभ भएको छ । तथापि दुर्लभै भए पनि लोकतन्त्र के हो, के होइन भनेर विमर्श गर्नु अब वाञ्छनीय र आवश्यक भएको छ ।


आवश्यक किन भएको छ, यसबारे साधारण जानेबुझेका मान्छेलाई भनिरहनै पर्दैन । अचेल भइरहेका कर्मकाण्ड देखेर उनीहरू वाक्कदिक्क छन् । किनभने जेलाई आज लोकतन्त्र भनिन्छ अथवा भनिँदै र भनाइँदैछ, त्यो केवल निर्वाचनद्वारा शासक चुन्ने अभ्यासमा सीमित भएको छ । चुनाव जित्ने अनि आफैंलाई जिताउनेलाई कज्याएर शासन गर्ने, नागरिक स्वतन्त्रता मास्ने कानुन ल्याउने अनि ‘रुल अफ ल’को दुहाइ दिने, आलोचकमाथि निसाना साँध्ने समूहलाई अघि सारेर स्वतन्त्रताको व्याख्या गर्न लगाउने, आफ्ना आसेपासे ‘पार्टीका पत्रकार’लाई त्यसको पुष्टि गर्न लगाउने, विरोधको स्वर नसहने निर्वाचित तानाशाहीजस्तो व्यवहारलाई लोकतन्त्र भनाउने प्रयत्न भइरहेको छ । खास–खास मान्छेले जसरी–तसरी चुनाव जित्ने, रजगज गर्ने कलकलाउँदो जवानीमा राजनीतिमा पसेको मान्छे नब्बे कट्दा पनि प्रधानमन्त्री कि राष्ट्रपति भएर मर्न खोज्ने । यही पट्यारलाग्दो प्रथालाई नै लोकतन्त्र हो भनेर चिनाइएको छ, गलत हो यो । चिल्ला गाला हुँदादेखि चाउरी पर्दासम्म, म्याराथनदेखि आर्यघाटसम्म एउटै मान्छे प्रत्याशीका रूपमा उपस्थित हुन्छ । अनि त्यो लोकतन्त्र !


कतै हामी जे लोकतन्त्र होइन, त्यसैलाई हो भनेर झुक्किइरहेका त छैनौं ? कतै भ्रममा त बाँचिरहेका छैनौं ? कतै वास्तविक लोकतन्त्र कल्पनामा समेत जीवन्तता गुमाउँदै त्यसको स्थान कर्मकाण्डले लिँदै गएको त होइन ? यी प्रश्न उठ्दा यसबारे ठेलीका ठेली पुस्तकका उद्धरणहरू देखाउनेहरूले लम्बेतान व्याख्या गर्न सक्छन्, तर उनीहरू उद्धरणमै हराउँछन् ।

विद्यावारिधिहरूले ‘रिसर्च मेथडलजी’ अन्तर्गत रहेर हामीलाई यो यसकारण लोकतन्त्र हो भनेर पढाउने कसरत गर्दा हुन् । तर हो–होइन, टुंगो लगाइदिँदैनन् । विश्वविद्यालयमा राजनीतिशास्त्र पढाउने प्राध्यापकहरू विभिन्न सिद्धान्तहरूको हवाला दिँदै, यति अथवा त्यति गुण भए यसलाई लोकतन्त्र नै भन्नु र मान्नुपर्छ भनेर विभिन्न देशका उदाहरण प्रस्तुत गरिरहेकै हुन्छन् । जबकि कुनै पनि सिद्धान्त व्यवहारमा नदेखिई पत्याइहाल्नु खतरनाक हुन्छ, व्यवहार त सिद्धान्तसँग मिल्दै नमिल्ने छ । के भन्ने ? विद्वानहरू पनि समाधान दिन सकिरहेका छैनन् । हुन पनि हो, उनीहरूले समाधान दिन्थे, दिनसक्थे भने यो दुनियाँमा लोकतन्त्रको दुर्दशा हुने थिएन ।


मैले यहाँ विद्वानहरूलाई आरोप लगाएको होइन । उनीहरू जान्दछन्, त्यतिका किताब पढेका छन्, डिग्री लिएका छन्, नामका अघिल्तिर डा. उपाधिले सज्जित छन् । तर स्थिति उनीहरूको नियन्त्रणमा छैन, किनभने शासनको उच्च स्थानमा धेरै अवस्थामा जसोतसो भोट बटुलेर शठहरू स्थापित भएका हुन्छन् । विद्वान त बुद्धिमान हुन्छन् । बुद्धिहीनका सामु परेपछि उनीहरूसँग बोल्ने कुनै तर्क हुँदैन ।


धेरै देश आज लोकतन्त्र भन्दाभन्दै आचरणमा चाहिंँ निर्वाचित तानाशाही (इलेक्टोरल डिक्टेटरसिप) बन्न पुगेका छन्, जहाँ राज्य सञ्चालकहरू शक्ति केन्द्रित गर्दै आफ्ना वरिपरि अभेद्य किल्ला खडा गरिरहेका छन् । लोकतन्त्रको आत्मा हो, वाणी स्वतन्त्रता, यही स्वतन्त्रता अहिले अर्घेलो भइरहेको छ । आज संयुक्त राज्य अमेरिकादेखि नेपालसम्म यसै प्रवृत्तिको बोलबाला कायम भइरहेको छ । सरकारले स्वेच्छाचार गर्न पाओस् भनेर नागरिक स्वतन्त्रतालाई संकुचित पार्नेगरी कानुन ल्याइँदै, कतै प्रतिबन्धात्मक नियम बनाइँदैछन् त कतै भने विद्यमान कानुनकै अपव्याख्या गरिँदै नागरिक स्वतन्त्रतामाथि प्रहार भइरहेको छ । यसै मेसोमा ‘रुल अफ ल’ अर्थात् कानुनी राजको हवाला दिँदै त्यसलाई मान्नैपर्ने भन्ने खालका लठेप्रा तर्क गरिँदैछन् । तर लोकतन्त्रमा ‘रुल अफ ल’ भनेको के हो, यो प्रश्न गर्‍यो भने तर्कसंगत उत्तर पाउनु त परै उनीहरू गालीगलौजमा ओर्लिन्छन् । तानाशाही, एकतन्त्री शासनमा ‘रुल अफ ल’ भनेर जेलाई बुझिन्छ, लोकतन्त्रमा त्यसरी बुभिँmदैन ।


तानाशाही, एकतन्त्री शासनमा सरकार छाडा हुन्छ, फुक्का हुन्छ । लोकतन्त्रमा बाँधिएको हुन्छ । यसमा सरकार कडा नियन्त्रण र अनुशासनमा रहनुपर्छ, ऊ आलोचना सहन र जवाफ दिन बाध्य हुन्छ । उत्तरदायी हुनुपर्छ, जनतालाई पाइपाइको हिसाब बुझाउनुपर्छ । किनभने सरकारले आफ्नो होइन, जनताको धनको प्रयोग गरिरहेको हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीहरू, सांसद्, प्रदेशसभा सदस्य, स्थानीयका पदाधिकारी अथवा सार्वजनिक पदधारण गर्ने जोकोही किन नहुन्, राष्ट्रपतिदेखि वडाधिकारीसम्मले साँझ–बिहान जानताकै पसिनाको कमाइ खाइरहेका हुन्छन् । उनीहरूको सुत्ने ओछ्यान, खाद्यान्न र पकाउने भाँडाकुँडा अर्थात् उनीहरूले प्रयोग गर्ने यावत सामग्री जनताकै पसिनाबाट आर्जित हुन्छ । त्यसैले सार्वजनिक पदधारण गर्नेको स्वतन्त्रता नागरिकका हातमा बन्धक हुन्छ । लोकतन्त्रमा सरकार नोकर हो, तलब खाने नोकर । नागरिक राज्यको मालिक हो, त्यसैले उसको वाणी स्वतन्त्रता निर्वाध हुन्छ ।


लोकतन्त्रमा कुनै खास राजनीतिक वर्ग हुनुहुँदैन । एकथरीले शासन गरिरहने शेष अरूचाहिँ शासित भइरहने प्रथालाई लोकतन्त्र भनिँदैन । वास्तवमा अरूले पालै नपाउने प्रथालाई रुढ, कर्मकाण्डी जडता भन्नुपर्नेमा लोकतन्त्र भनेर बदनाम गरिँदैछ । अनि एउटा वर्ग बन्न पुगेको छ, राजनीति गर्नेको र त्यही वर्ग पार्टीको बोर्ड टाँग्दै गजधम्म उपरखुट्टी लगाएर बसेको छ, पहिला–पहिलाको जमिनदारी प्रथामा जस्तै । बाबु कि आमा, कोही भने आमाबाबु दुबै राजनीतिज्ञ, तिनका छोराछोरीले राजनीति नै गर्नुपर्ने (गर्नै हुँदैन भनेको होइन, दौराको फेर समातेर गर्नेलाई भनेको), राजनीति नगरे, राजनीतिज्ञ बाबुआमाको पदको प्रभावमा राज्यबाट लाभ लिने कि धन कुम्ल्याएर विदेश गएर बस्ने र विस्तारै बाबुआमा पनि उतै । धन चोरेर भेला गर्ने (अन्यायपूर्वक धन सञ्चयलाई शास्त्रले चोरी भनेको छ) आचार–विचार सबै त्यागेर भ्रष्टाचार गर्ने अनि मर्ने बेलामा देशै त्यागेर अन्तै बस्ने, यो प्रचलनजस्तै बन्न गएको छ । झन्डै–झन्डै राजनीतिक, सामाजिक मान्यताकै रूपमा स्थापित भएको छ । त्यसैले प्रश्न गर्‍यो कि अर्घेलो हुन जान्छ । उत्तर पाइँदैन । उल्टै गाली खाइन्छ ।


निर्वाचनपूर्व हात जोड्दै भोट माग्न आएको त्यही मान्छे सत्तामा पुगेपछि अर्कै बन्छ, मतदातालाई सके त भेटै दिँदैन, दिइहाले उपदेश दिन थाल्छ । काम गर्न पो पठाएको उपदेश सुन्न त होइन । तर बाटो ओगटेर लावालस्कर लिएर हिँड्छ, राज्यको धन खर्च गरेर मञ्च खडा गर्छ र उल्टै मतदातालाई नै हप्काउँछ । खिसिट्युरी र गिल्ला गर्छ । अरू कोही होइनन्, आफैं सर्वज्ञाता हुँ भन्ने ठान्छ । यही दुश्चक्र दोहोरिएको दोहोरियै छ । हिजो प्रतिपक्षमा आज सत्तामा, हिजो सत्तामा हुने आज प्रतिपक्षमा छ । जो जता बसे पनि एउटै जनता हेपाहा बेहोरा–बानी एउटै छ । देखिरहेका छन्, धेरैले उसले सुनौलो रंगको राजसी कुर्सी बनाएको छ, त्यहाँ उहिल्यै विदा भएका महाराजा भावमा बस्छ र प्रश्नोत्तर कहाँ–कहाँ... प्रवचन दिन थाल्छ । जबकि चाहिएको त प्रवचन होइन, भिजन हो, राजसी प्रस्तुति होइन, कार्यसूची हो, आसपास लस्कर होइन, कार्यक्रमको कार्यान्वयन हो । ऊ बिर्सिन्छ, यी निर्बलजस्ता देखिने यी मान्छे एक्ला छैनन्, हजारौं–लाखौं–करोडौं छन् । यिनै जस्ता मान्छेले फ्रान्समा राज्यक्रान्ति गरेका हुन्, भारतलाई स्वतन्त्र बनाएका र नेपालको राजसंस्थालाई धुलोमा मिलाइदिएका हुन् । राजासंस्था फालेको अर्थ अर्को राजा ल्याउन होइन, आफूजस्तै मान्छेलाई सत्ता दिएपछि आफ्नो पीरमर्का बुझ्छ भनेर हो । राजाहरू फुक्का छाडा थिए र जनता बाँधिएका थिए । लोकतन्त्र ल्याउनुको तात्पर्य जनतालाई बन्धनमुक्त बनाउनु र शासकलाई नियमबद्ध अनुशासनमा बाँध्नु थियो । तर जो शासनमा पुग्छ, उही राजा बन्ने भए, ऊ फुक्का तर जनता बाँधिनुपर्ने भए त्यस्तो पद्धतिलाई लोकतन्त्र शब्दले अलंकृत गर्दैमा त्यो लोकतन्त्र भइहाल्दैन । शासक र शासित एकैखाले मानिस नहुने प्रथा धेरै समय टिक्दैन । लोकतन्त्रमा शासितले शासकमा आफ्नो प्रतिविम्ब देख्नुपर्छ । देखिएन भने त्यस्तो प्रथाविरुद्ध फेरि विद्रोह हुन्छ ।


लोकतन्त्रमा शासित, शासितै रहिरहने हुँदैन । शासक शासितका स्थानमा तथा शासित शासक बन्ने मार्ग खुला हुनुपर्छ । एउटैले सधैं गजधम्म ओगटेर बस्न पाइँदैन र त्यसरी बस्न दिनु पनि हुँदैन । यतिन्जेल हामी जे देखी, भोगिआएका छौं, यसलाई नै लोकतन्त्र हो भनेर नझुक्किउँm । यो त वास्तवमा लोकतन्त्र नभएर चुनावी दंगल अर्थात् कुस्तीजस्तो मात्र भएर रहेको छ । यस्तो हुँदैन लोकतन्त्र, किनभने शासनमा शासितको पालो आउनुपर्छ, नित्य नवीन कल्पनाशील पुस्ताका लागि बाटो खुला हुनुपर्छ । एकै पुस्ताका मान्छे पुस्ताभर शासनमा बस्ने प्रथा लोकतन्त्रको परिकल्पना अन्तर्गत पर्दैन । साथै जनता बाँधिने तर सत्ताधारी फुक्का हुने नियम कानुनलाई तानाशाही चालचलनको अंग भन्नुपर्छ, बिर्सेर पनि लोकतन्त्रसम्मत भन्न मिल्दैन, भन्नै हुँदैन ।

विविधा

स्वास्थ्यका लागि सुमधुर संगीत

विषाक्त, विकृत र नकारात्मक सन्देश दिने गीत–संगीतबाट कालान्तरमा नकारात्मक प्रवृत्ति विकास हुन्छ ।
- डा. धनरत्न शाक्य

बिहानै कुनै गीत वा धुन सुने लामो समय त्यही मनमा आइरहन्छ । थाहै नपाइकन गुनगुनाइन्छ । पार्टी वा समारोहमा ठूलो आवाजमा गीत घन्किरहेको हुन्छ । सवारी साधनमा शृंखलाबद्ध बजिरहेका हुन्छन् । तपाईंले सुनिरहने, गुनगुनाइरहने गीतले पार्ने मनोसामाजिक प्रभावलाई कहिल्यै केलाउनुभएको छ ? गीत–संगीत जनजीवनको अभिन्न अंश भएको छ । चाहे पनि नचाहे पनि हरेक घरमा श्रव्य र दृश्य रूपमा गीत भित्रिन्छन् । लोक, आधुनिक, पप, हेभिमेटल, र्‍यापजस्ता रूपमा मानव मनका भाव बोकेर गीत–संगीत रेडियो, टेलिभिजन, इन्टरनेट लगायतका माध्यमबाट घन्किन्छन् । बाल, किशोर, युवा, वयस्क वा वृद्ध सबै आआफ्नै जानी–नजानी गीत–संगीतमा डुबेकै छन् ।


गीत–संगीतले सर्जकलाई मानसिक तुष्टि, वृत्ति विकास, पहिचान दिन्छ । श्रोतालाई मनोरञ्जन, शान्ति, चेतना, मानसिक आहत प्रदान गर्छ । गीतमै समाज, संस्कृति र युगको चित्रण हुन्छ । सर्जकको समग्र मनस्थिति, स्वास्थ्य, चेत, विवेक स्तर, श्रोताको रुचि, मनोसामाजिक स्थिति, विश्व संगीत, समय र समाजको दिशा, रीति, प्रवृत्ति आदिबाट गीत–संगीत प्रभावित रहन्छ । गाउँ, सहर, सबैतिर सबै परिस्थितिमा बजाइने गरिन्छ, गीत–संगीत । यसको मानव मन, व्यवहार, प्रवृत्ति, स्वास्थ्य र समग्र समाजको दिशानिर्देशसम्ममा चेत अचेत रूपमा असर हुन्छ ।


गीत सुन्दै गाडी चलाउने, कारखानामा काम गर्ने, भान्छा वा घरगृहस्थ गर्ने गरिन्छ । आजभोलि बहुसंख्यक मोबाइल फोनमा इयरफोन जोडेर गीत सुन्दै हिँड्छन् । मानिसको नसा–नसामा गीत–संगीतको असर र प्रवृत्ति सल्बलाउने निश्चित छ । गीत–संगीत संवेदनशील विषय हो । विशाक्त, विकृत र नकारात्मक सन्देश दिने गीत–संगीतबाट भने कालान्तरमा नकारात्मक प्रवृत्ति विकास हुन्छ । विकृति फिँजाउनेहरू सर्जकका नाममा कलंक हुन् । खुसी, उत्साह, उपलव्धि, सफलता वा अवसरजस्ता सकारात्मक अनि दु:ख, निराशा, घृणा, धोका, अधोगति, विरह, विकृतिजस्ता नकारात्मक मानव मनस्थिति गीत–संगीतले समेटेका हुन्छन् । गीतमै आह्वान, समाज सुधार, राष्ट्रप्रेमको भावना लगायतका सन्देश हुन्छन् । चाडपर्व, चालचलन, संस्कृतिको चिनारी गीतमा हुन्छ । गीतमा समाजको चित्र र प्रवृत्ति उद्धृत हुन्छ ।


नेपाली समाज संस्कार, घरपरिवार, नातागोता र मानवीय सम्बन्धलाई महत्त्व दिन्छ । नेपाली गीतमा केटाकेटी, महिला–पुरुषको सम्बन्धले प्राथमिकता पाएको देखिन्छ । यसले अभिभावक, भ्रातृत्व र अरू सबैजसो सम्बन्धलाई ओझेलमा पारेको छ । पुस्तौं–पुस्ता र निरन्तरको अवलोकनबाट बालसुलभ मनमस्तिष्कमा यो प्रवृत्तिकै रूपमा स्थापित हुने जोखिम छ । एकलकाँटे, मतलबी र एकल परिवारको समाजमा यो प्रवृत्ति अझ शक्तिशाली रूपमा देखिँदैछ । अरू खालका मानवीय सम्बन्ध अपहेलित हुने प्रवृत्तिलाई नेपाली गीतले मलजल नगरुन् ।


नेपाली गीतमा नारी सौन्दर्य अत्यधिक र पुरुषार्थ कम चित्रित छ । नारीको सुन्दरता वर्णन, फेसन, मादकता र अश्लीलताको वकालतमा नेपाली गीतमा कुनै नियम, सीमा देखिँदैन । मानौं, लेख्न, प्रशंसा र बखान गर्नका लागि अरू सुन्दर र उल्लेखनीय गुण, चरित्र वा कुरा छैनन् । नारी सौन्दर्यजस्तै सत्य, सुन्दर र शाश्वत कुरा, गुण र प्रसंगले यथोचित स्थान पाए भोलिको पिढीमा सन्तुलित दृष्टिकोण विकास हुन्छ । मानव जीवन र समाजका लागि चर्चा हुनुपर्ने बैंस र शारीरिक सौन्दर्यमात्रै त पक्कै होइन होला ।


पिरतीको प्रसंगमा सभ्य–असभ्य, स्वस्थ–अस्वस्थ, उचित–अनुचित, सामान्य–असामान्य, साधारण–असाधारण, लौकिक–अलौकिक अनुरोध, प्रस्ताव, आह्वान धेरै गीतका मर्म हुने गर्छन् । अनुनय, धम्की वा तटस्थ रूपमा राखिने प्रस्तावका कुरा गीतमा अभिव्यक्त हुन्छन् । भौतिक सुखभोगदेखि भट्केको मानिस र आत्मालाई जीवन मार्गमा डोर्‍याउने दिव्य सल्लाह र अनुरोधसम्म अटेको हुन्छ, गीतमा । समाजमा हरेक खालका, क्षमता र प्रकृतिका मानिस हुन्छन् । बच्चा, किशोर लगायत मानसिक रूपले अपरिपक्व मानिसलाई यस्तो मर्मले वशिभूत तुल्याउन सक्छ । मायामा मान्छे अन्धो हुने भनिए पनि वास्तवमा हरपल कुनै कुरा अवलम्बन गर्नुअघि सोचविचार पुर्‍याउनुपर्छ । गर्नलाई केटाकेटी बीचमा प्रेममात्रै हो कि जीवन र समाजलाई सही मार्गमा डोर्‍याउन अरू पनि कुरा छन् ? संवेदनशील भएर गीत सिर्जना हुनुपर्छ ।


प्रेममा फस्दा, फसाउँदाका अनुभव, अतिशयोक्तिपूर्ण बेलिविस्तार र चित्रण भएका गीत कम छैनन् । मायाका नाममा आफ्नो मनसँग लहसिएको, हारेको र लाचारी, तृष्णा, आशक्तिका भाव गीतमा हुन्छन् । यसले कामको सिलसिलामा टाढिएर बसेका श्रीमान–श्रीमतीलाई दिग्भ्रमित त पार्दैन ? विछोड, विरह, असफलता, धोका गीत–संगीतको लोकप्रिय र सर्वाधिक हावी भएको प्रसंग र प्रवृत्ति हो । प्राय: सदावहार र लोकप्रिय गीतमा प्रेमका पीडापूर्ण नियति समेटिएको पाइन्छ । मानौं, उदासी नेपाली मनको जीर्ण प्रवृत्ति हो । मानव मन सन्तुलन गर्ने गीतहरू चाहिँदैनन् ? ममा सधैं कौतुहल हुन्छ ।


गुनासो, बदला, असन्टुष्टि, आरोप–प्रत्यारोप अर्काे नकारात्मक तर प्रवृत्तिगत मर्म देखिन्छ, नेपाली गीत–संगीतको । आवेश र आवेगमा होमिने अनि परिणाममा जलेपछि एकले अर्कोलाई दोष दिने, सराप्ने वा चुपचाप सहने वा आफैंलाई अस्वस्थ पीडामा डुबाउने आशय व्यापक रूपमा चित्रित गरिएको हुन्छ । सम्बन्धमा मर्यादा, विवेक, धैर्य र जटिलता रोकथामको सन्देशपूर्ण गीत–संगीत आवश्यक छ कि छैन ? असफलता, विछोडको परिस्थितिमा हतास, निराश, अन्धकार, सर्वनाश भएको अर्थमा आत्महत्या, मृत्युुसम्म रोज्ने आशयका विशाक्त र नामर्दिपन ओकल्ने गीत कम छैनन् । महिला–पुरुषको माया मानवीय जीवन, समाज र संवेदनाका अरू धेरै अंशमध्ये एक हो । अतिशयोक्तिपूर्ण रूपमा किन महत्त्व दिने ? अरू अंशलाई बिर्सेर जीवन, भविष्य र आत्मविश्वासै डगमगिने सन्देश गीतमा नदिँदा के होला ? मिलन र रोमाञ्चकता आजभोलि लोकप्रिय प्रसंग बन्दैछ । यसले श्रोतामा ऊर्जा र कौतुहलता थप्छ ।
[email protected]
डा. शाक्य स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ हुन् ।

Page 8
कला र शैली

जस्तो क्षण उस्तै नाचगान

तामाङ ज्ञान महोत्सव
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मेलापात जाँदा होस् या कुनै पर्व मनाउँदा, जन्मँदा होस् या मृत्यु हुँदा, तामाङ समुदायमा समयअनुसारका गीत र नाच छन् । समयअनुसार गीत गाउँदै नाच्ने र गीतको बोलअनुसार अभिनय गर्ने परम्परा अझै पनि छ । तर बिस्तारै यो परम्परा लोप हुँदै गएको विज्ञहरू बताउँछन् । नेपाल पर्यटन बोर्डमा आयोजित तामाङ ज्ञान महोत्सवको अन्तिम दिन बिहीबार तामाङ समुदायमा प्रचलित र लोपोन्मुख गीत, नाच र नाटकबारे बहस चल्यो ।


‘तामाङ लोक नाटक’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै प्रवीण पुमाले दोइला, घेवा, छेस्युग, दोरा, झ्युङा, छ्योत्पा, भाक्पा, स्याब्रु, डम्फु, छेची, म्हेन्दोमायालगायत तामाङ जीवनशैली, उत्पत्ति, संस्कृति, परम्परा झल्किने विभिन्न लोक नाटकको चर्चा गरे । त्यस्तै रमेशकुमार तामाङले ‘तामाङ गीतसंगीत’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै ताम्बा गीत, शेरगमला व्हाई (प्रार्थना गीत), डम्फुसेङाला व्हाई (डम्फु उत्पत्तिको गीत), रुइला व्हाई (थर उत्पत्तिको गीत), म्हेन्दोमाया लगायतका लोक गीतहरू चर्चा गरे । ‘यी गीतहरूको अभिलेखीकरण र व्याख्या विश्लेषणमा काम हुन सकेको छैन,’ उनले भने । प्रतिभा पुनले ‘तामाङ लोक नाच’ बारे कार्यपत्र प्रस्तुत गरिन् । उनले प्रदेश नम्बर ३ को तामाङ समुदायमा २० वटा लोक नाच रहेको बताइन् । ‘तर तामाङ जाति भन्नेबित्तिकै मानिसलाई सेलो नाच नै याद आउँछ,’ उनले भनिन्, ‘अरू नाचबारे पनि अनुसन्धान गरी प्रकाशमा ल्याउनुपर्छ ।’ यो सत्रको अध्यक्षता गर्दै प्राज्ञ पुष्कर गुरुङले ‘अघिल्लो महिना मात्रै राजधानीमा सम्पन्न सेलो महोत्सवमा तामाङ लोक नाटक हेर्न पाएको’ बताउँदै लोक नाटकलाई आधुनिक स्टेजमा ल्याउनुपर्ने औंल्याए ।


पहिलो सत्रमा भने आदिवासी साहित्यिक अभियानका अभियन्ता काजीमान थिङले तामाङ समुदायको संस्कृति र यसमा आएको विचलनबारे प्रकाश पार्दै आफ्नो मौलिकता र संस्कृतिबारे अनभिज्ञ रहेको दाबी गरे । उनले धार्मिक र सांस्कृतिक हिसाबले पवित्र बुद्धमन्त्र राखिएको खादाको महत्त्व बुझाउन नसक्दा अरू वस्तुले प्राथमिकता पाएको दाबी गरे । तामाङ बस्तीलाई तामाङ संस्कृति र खानाको पयर्टकीय गन्तव्य बनाउन सकिने सम्भावना उनले औंल्याए । महोत्सवमा ‘नेपालको राजनीतिक आन्दोलनमा तामाङ जातिको योगदान’ माथि रामबहादुर बुढाले कार्यपत्र पेस गरे ।


लेखक एवं राजनीतिकर्मी सीताराम तामाङले विस्तारै तामाङको भूमि, ताम्बा परम्परा, लामा परम्परा संकटमा पर्दै गएको बताए । अन्तिम दिन खोजराज गोले, सिङ्ग मोक्तान तामाङ, अनिसकुमार थोकर, आरके तामाङ, सामसूर्य तामाङ, बालकृष्ण बल र मवि दोङ तामाङले कार्यपत्र प्रस्तुत गरे ।


पुस्तक, पुरानो सांस्कृतिक सामग्री, भेषभूषा प्रदर्शनीसहितको महोत्सव यसपटक लोभलाग्दो सहभागिता रहेको महोत्सव संयोजक गणेश योञ्जनले बताए । अन्तिम दिन फूलमान वल निर्देशित छोटो फिल्म ‘सेलफोन’ समेत देखाइयो ।

Page 9
कला र शैली

चित्रकारहरूले नै किन्छन् चित्र

‘एकअर्काका चित्रकृति किन्नु भनेको बजारको निर्माण गर्नु पनि हो । अर्कातिर, चित्र जति पुरानो भयो उति अमूल्य हुदै जान्छ ।’
- मधु शाही

काठमाडौं - बिहान चियाको चुस्की लिँदै गर्दा होस् या दिनभरिको कामले गलेका बेला, कलाकार सौरगंगा दर्शनधारी जसै लिभिङ रुममा पुग्छिन्, उनको आधा थकान पर भाग्छ । भित्तामा राखिएका चित्रहरू भिन्नै आनन्द पाउँछिन् उनी । कालोपुल घर भएकी उनी थकान मेट्न लिभिङ रुममा घण्टांै बिताउने गर्छिन् ।


अझ लिभिङ रुममै राखिएको वरिष्ठ चित्रकार शशीविक्रम शाहको एउटा पुरानो चित्रले सौरगंगालाई धेरै पटक जिज्ञासु बनाइदिन्छन् । प्रिन्टमेकिङ मिडियम, त्यसमा पनि पोट्रेट आकृति । उनी त्यसमा युनिकनेस देख्छिन् । सौरगंगाका अनुसार, सन् १९७५ ताका शाहले आर्ट सिक्दै गर्दा बनाएको चित्र हो यो ।


‘उहाँ सुरुमा प्रिन्टमेकिङ गर्नुुहुँदो रहेछ,’ उनले भनिन्, ‘घोडा त पछि मात्रै बनाउन थाल्नुभाको रे †’
प्रिन्टमेकिङ चित्रकलाको एउटा विधा हो । सौरगंगा पनि प्रिन्टमेकर हुन् । दस वर्ष पहिले उनी शाहको कुपण्डोलस्थित घर पुगेकी थिइन् । चित्रकला नियाल्ने क्रममा उनले शशीको प्रिन्टमेकिङ त्यसमा पनि पोट्रेट भेट्टाइन् ।


‘म यो किन्छु नि,’ सौरगंगाले शाहलाई भनेको सम्झिन्छन् । उस बेला शाहले आफूले ‘काम सिक्दा बनाएको चित्र भएकाले राम्रो छैन, नलैजाऊ’ भनेका थिए । सौरगंगालाई भने त्यही काँचो चित्रमा परिपक्वता मात्रै हैन, ऐतिहासिकता पनि देखिन् र किनिन् ।


‘अहिले शशी सरको यस्तो चित्र कहाँ पाउनु ?’ उनले भनिन् ।


वरिष्ठदेखि युवा कलाकारसम्मका सिर्जना संकलन गरेर राख्नुको मज्जा भिन्नै रहेको सौरगंगाको अनुभव छ । एकातिर कलासँगै निश्चित कालखण्डको शैली र ज्ञानको संकलन हुन्छ भने अर्कातर्फ कलाकारको सम्मान पनि ।


‘एकअर्काका चित्रकृति किन्नु भनेको बजारको निर्माण गर्नु पनि हो,’ उनले भनिन्, ‘त्यही भएर यो संस्कार आवश्यक छ ।’ सौरगंगाले शाहसँगै शंकरराज सिंह सुवाल, एरिना ताम्राकार, आशा डंगोलजस्ता चित्रकार कलाकृतिहरू पनि संकलन गरेकी छन् ।


अर्का चित्रकार ज्योतिप्रकाश विके चित्र संकलन गर्नुमा दुई कारण देखाउँछन् । कलाकारको सम्मान गर्नु अनि आफ्नै सम्पत्ति थप्नु । ‘कला संकलन गर्नु भनेको सम्पत्ति भण्डारण गर्नु पनि हो,’ उनले भने ।


कुपण्डोल बस्ने ज्योतिले शशीविक्रम शाह, विजय थापा, किरण मानन्धर, पुरन खड्का, केके कर्माचार्य, डिराम पाल्पाली, रमेश खनाल, हिमेश शाहसहित केही बंगलादेशका कलाकारका समेत चित्र संकलन गरेका छन् । उनको बैठक कोठा चित्रैचित्रले भरिएको छ ।


‘पाहुनाले चारैतिर चित्र हेरेर रमाइलो मान्नुहुन्छ,’ उनले भने, ‘कला बुझाउने यो पनि राम्रो तरिका हो । कलाकारको मर्म कलाकारले नै नबुझे कसले बुझ्छ ? मैले त किस्तामा पैसा तिरेर पनि किनेको छु ।’


चित्र किनेर संकलन गर्ने चित्रकारमध्ये राजन काफ्ले पनि एक हुन् । उनको चाबहिलस्थित घर पुग्ने जोकोहीले भित्तामा सजाइएका चित्र देखेर उनको सोख अनुमान लगाउन सक्छन् । राजनसँग अहिलेसम्म उत्तम नेपाली, शशीविक्रम शाह, दुर्गा बराल, सरोज रञ्जित, मोहन खडका, मनुजबाबु मिश्र, किरण मानन्धर, बुद्धि गुरुङ, सीमा शाह लगायतका चित्र छन् ।
राजन चित्र संकलनको मामिलामा अनौठा पनि छन् । उनलाई आफूले बनाएका चित्र पटक्कै मन पर्दैनन् । र, उनी चित्र साइनो जोड्नकै लागि मात्रै पनि किन्दैनन् । ‘हेर्दा जुन चित्रकारको चित्रले मन छुन्छ उसैको किन्छु,’ उनले भने, ‘कसैलाई खुसी बनाउन हैन, आफैँ खुसी हुन किन्छु ।’


दस वर्षदेखि उनी निरन्तर आर्ट कलेक्सन गर्दै आएका छन् । किन्नुभन्दा पनि सम्हालेर राख्ने कसरी भन्ने चुनौती सबैभन्दा ठूलो छ । राजनले संकलन गरेका चित्रहरू आफू
जीवित रहेसम्म नबेच्ने बताउँछन् । चित्र बेच्नुपर्ने स्थितिचाहिँ नआओस् भन्ने कामना गर्छन् उनी ।


चित्रकार मनीषलाल श्रेष्ठ, एरिना ताम्राकार, सुदर्शन राणा पनि चित्र किन्न मन पराउँछन् । सुदर्शनले चित्र संकलन गर्नुका पछाडि बेग्लै कथा छ । उनले बुबा (झसेन्द्रविक्रम राणा) बाट यस्तो पाठ सिकेका हुन् । चित्रकारसमेत रहेका झसेन्द्र पछि सेनामा सिभिल इन्जिनियरका रूपमा कार्यरत रहे । उनी केही समय चित्र कोर्थे । तर, त्यस बेला आफ्ना बुबाले आय आर्जन नहुँदा र चित्रकारले अरूका पनि चित्र किन्नुपर्छ भन्ने धारणा नहुँदा खासै कला संकलन नगरेको सुदर्शनले बताए । अहिले उनलाई लाग्छ, ‘सायद उति बेला केही चित्र बुबाले संकलन गर्नुभएको भए ?’


चित्रमा इतिहास, पुख्र्यौली सभ्यता र संस्कृतिसमेत झल्किने हुँदा सुदर्शनले आफ्नो राणाकालीन पुर्खाका चित्रकला त्यत्ति देख्न नपाएको बताउँछन् । राणाकालीन कलाकृति कस्तो हुन्थ्यो ? भने जति डकुमेन्टेसन हुन नपाएको सुदर्शन बताउँछन् । उनी निश्चित कालखण्ड जीवित राख्न पनि चित्र संकलन गर्न आवश्यवक रहेको औँल्याउँछन् । उनीसँग केही वरिष्ठ चित्रकारसँगै युवा पुस्ताका सिर्जनाहरू बढी छन् ।


मनीषलाललाई चित्रमा समेटिएको विचारले प्रभावित भएपछि मात्रै किनूँजस्तो लाग्छ । ‘चित्र कस्तो बन्यो भन्दा पनि त्यसमा उठाउन खोजेको वैचारिक तर्क के हो भन्ने पक्षले मन छुन्छ,’ उनले सुनाए, ‘यस्ता चित्र सकेसम्म किन्छु ।’ उनीकहाँ कृष्ण मानन्धर, चिराग वाङदेल, वत्सगोपाल वैद्य, शशीकला तिवारी, शशीविक्रम शाह, कपिलमणि दीक्षित, जुपिटर प्रधान, बिन्दु गुरुङ लगायतका सिर्जना छन् ।


एरिना ताम्राकारका चित्र देशविदेशमा प्रख्यात छन् । उनको कलाका फयान थुप्रै छन् । यद्यपि उनी आफंै पनि अन्य कला र कलाकारकी फयान हुन् । उत्तम नेपाली, किरण मानन्धर, शशीविक्रम शाह, मनुजबाबु मिश्र, एससी सुमन, रमेश बाराही, अनिल प्रजापतीलगायत कलाकारका चित्रहरूसमेत उनले संकलन गरेकी छन् । शयन कक्षदेखि बैठक कोठासम्मका भित्ताहरू चित्रैचित्रले भरिएका छन् ।


एरिनालाई चित्र जोड्नु भनेको समयलाई कैद गर्नु हो भन्ने लाग्छ । ‘चित्र भनेको जति पुरानो उति अमूल्य हँुदै जान्छ,’ उनले भनिन् ।


कला समीक्षक मुकेश मल्लका अनुसार चित्रकला संकलन गर्न जति सजिलो छ उति त्यसको व्यवस्थापन गर्न समस्या रहेको बताए । आफूले खासै चित्र नकिनेको बताउँदै उनले थपे, ‘चित्र किन्नैपर्ने कलाकार औँलामा गन्ने भेटिन्छन् । किनेर मात्रै भएन, राख्ने कहाँ ?’

कला र शैली

समयलाई समात्दै यादव !

‘वर्तमानलाई त समाउन सकिएला, तर विगत उम्किन्छ । त्यसलाई आंशिक रूपमा भए पनि समात्न खोज्दै छु ।’
- कान्तिपुर संवाददाता
वरिष्ठ फिल्मकर्मी एवं गीतकार यादव खरेल (बीच) आफ्ना फिल्म र अन्य सिर्जना संग्रहका लागि बिहीबार मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितलाई हस्तान्तरण गर्दै । साथमा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल ।
तस्बिर : कान्तिपुर

काठमाडौं– समय समयको कुरा ! वरिष्ठ फिल्मकर्मी एवं गीतकार यादव खरेल समयको खेल बुझ्छन् । विसं २०२८ मा चलचित्र विकास बोर्डको अध्यक्ष छँदा उनले फिल्म अर्काइभिङका लागि जोजोसँग भिडियो छ, उपलब्ध गराउन आग्रह गर्दै विज्ञापन छपाएका थिए । त्यो बेला मदन पुरस्कार पुस्तकालय (मपुपु) का संस्थापक अध्यक्ष कमलमणि दीक्षितले राणा महाराजका दुइटा भिडियो उनलाई दिए । ती भिडियोका छुट्टै कहानी छन् । अहिले भने यादव आफैं मपुपुसमक्ष आफ्ना फिल्म र अन्य सिर्जना अर्काइभ गरिदिनुपर्‍यो भन्दै बिहीबार पाटनढोका पुगेका थिए ।


आफ्ना ‘समग्र सिर्जना’ कारमा हालेर पुस्तकालय पुगेका उनलाई छोरा सम्राट र अन्यले प्रेमपिण्ड, लोभीपापी, नासो लगायत फिल्मका पोस्टर बोकेर पुस्तकालयको बुइँगल उक्लिन सघाए । बाँसैबाँसले बनेको पुस्तकालय भवनमा उनले फिल्मका पोस्टर अडयाए । र, फिल्म अपलोड गरिएको हार्ड ड्राइभ, माउन्ट गरिएका पोस्टर र सिडीहरू पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितलाई थमाए ।


‘समयलाई समात्ने प्रयत्न हो मेरो,’ खरेलले मुस्कुराउँदै भने, ‘वर्तमानलाई त समाउन सकिएला, तर विगत उम्किन्छ । त्यसलाई आंशिक रूपमा भए पनि समात्न खोज्दै छु ।’


अहिलेको जमानामा प्रविधिले आफूलाई आँखैअगाडि आउट डेटेड गरेको देख्न सकिने उनले बताए । यो बेला सिर्जनाको भरपुर शोषण भइरहेको भन्दै निराशा व्यक्त गरे । यीबाट बच्ने उपाय खोज्दा मपुपु नै सबैभन्दा उचित विकल्प लागेको उनको भनाइ थियो । खरेलले विसं २०२० देखिका आफ्ना गीत, किताब, फिल्म, एल्बमका कभर, सीडी एल्बम, किताबका कभर, फिल्मी पोस्टर, पम्पलेट, टेलिभिजन स्टिकर र भिडियोहरू मपुपुलाई हस्तान्तरण गरेका छन् ।


बजारमा आइसकेका सिर्जना आफ्नो मात्र नभएर समाजको हुने खरेलले बताए । समाजको नासो समाजलाई नै फर्काएको उनको भनाइ थियो । उनले सिर्जनाहरूको दुरुपयोग भइरहेकाले यसको रोकथामका लागि पुस्तकालयलाई दिनु ठीक लागेको अभिव्यक्ति दिए । ‘यी सामग्री व्यापारिक प्रयोजनका लागि प्रयोग नगरिऊन्,’ उनले सर्त सुनाए, ‘अन्वेषण, अध्ययन र अनुसन्धानका लागि पुस्तकालय परिसरमा मात्र प्रयोग होऊन् । यी सामग्री सार्वजनिक प्रयोग हुँदा यादव खरेलको संग्राहलयबाट प्राप्त भएको कुरा उल्लेख गरियोस् ।’
पुस्तकालयका अध्यक्ष दीक्षितले व्यापारिक प्रयोजन कदापि नहुनेमा खरेललाई आश्वस्त पार्दै उनीमार्फत अन्य स्रष्टाका परिवारजनलाई पनि ऐतिहासिक दस्तावेज संग्रह गर्ने ऊर्जा मिलोस् भन्ने चाहेको बताए ।


‘नेपालको आधुनिक युगको सांस्कृतिक प्रतिनिधित्व गर्ने यादव दाइका सिर्जना संग्रहित गर्न पाउँदा हामी खुसी छौं,’ दीक्षितले भने, ‘अन्य स्रष्टाका परिवारजनले पनि यसमा चासो दिनुपर्छ ।’ आधुनिक युग (२००७ सालयता) को संरक्षण गर्ने बेला आइसकेको उनको भनाइ थियो ।


खरेलले ‘आदिकवि भानुभक्त’, ‘चेलीबेटी’, ‘श्रीस्वस्थानी’, ‘वसन्ती हावा’, ‘गैरी खेतको’ जस्ता फिल्म मपुपुलाई दिएका छन् । विसं २०२० र ३० को दशकमा एनलग प्रविधिमा बनेका यी फिल्म खरेल पुत्र सम्राटले डिजिटल भर्सनमा रूपान्तरण गरेका रहेछन् । ‘फिल्म भनेको साहित्य हो,’ सम्राटले भने, ‘यसको संरक्षण आवश्यक छ । बुबाका फिल्म र पुराना गीतहरू सरकारी निकायमा धुलो लागेर थन्किएका थिए । मैले भेटेजति ल्याएर डिजिटलाइज र रेस्टोर गरेको छु ।’ सम्राटकै पहलमा ‘आदिकवि भानुभक्त’ र ‘प्रेमपिण्ड’ अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलसमा डिजिटलाइज/रेस्टोरेसनपछि अर्काइभिङ गरिएको छ ।


सञ्चारकर्मी समेत रहेका खरेलले नेपालका सरकारी निकायले अर्काइभिङको परम्परा सिक्दै नसिकेको र जान्दै नजानेको बताए । विसं २०२८ मा आफू विकास बोर्डको पहिलो अध्यक्ष हुँदा नै फिल्म अर्काइभको पहल सुरु गरेको उनी सम्झन्छन् । ‘म पछिकाले निरन्तरता दिएनन्,’ उनी भन्दै आएका छन्, ‘त्यो बेला फेला परेका फिल्म पनि सिंहदरबार आगलागी हुँदा हराए । कपितपय फिल्म राजदबार लगिएका थिए, त्यहाँबाट फिर्ता आएनन् ।’ भिजिअल इतिहास सुरक्षित राख्दा देशको कलासंस्कृतिसँगै त्यो बेलाको जगत् बुझ्न सकिने उनको भनाइ थियो ।


हस्तान्तरण समारोहमा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, गायक लोचन रिजाल, पुस्तकालयका अभिलेखाध्यक्ष समिक मिश्र लगायतले पनि अर्काइभिङको महत्त्वबारे कुरा राखेका थिए । ‘म अचेल बेलायतको क्रिस्मस लिट्रेचर सेरिज हेरिरहेको छु,’ पत्रकार दाहालले भने, ‘उनीहरूले सय वर्षअघिका कुरा पनि सुरक्षित राखेका छन् । हामीचाहिँ हिँडदै छ, पाइला मेटदै छ शैलीका छौं ।’ लोचनले यावदको पालाको बौद्धिकतालाई अहिलेको बौद्धिकतासँग प्रयोग गर्न पाए नौलो स्तर उत्पादन गर्न सकिन्थ्यो कि भन्ने कौतुहलता व्यक्त गरे ।

 

निरन्तर खोज
नेपाली भाषाका पुराना कृति पल्टाउन चाहनेलाई अहिले मपुपुको विकल्प छैन भन्दा फरक नपर्ला । यहाँ विसं १८२० देखिका पुस्तक संग्रहित रहेको र अहिलेसम्म ४० हजार किताब, ५७ सय पत्रपत्रिका भेला भइसकेको पुस्तकालयका दीपक अर्याललले जानकारी दिए । पुस्तक र पत्रपत्रिकाको चाङसँगै यहाँ प्रचार, पम्पलेट, अडियो/भिडियो सामग्री पनि संग्रह गर्दै आएको उनले अवगत गराए । ‘नेपाली भाषाका कृतिको सबैभन्दा ठूलो संकलन यही छ,’ उनले भने, ‘अब यादव खरेलबारे पनि केही चाहिए यहीँ आए हुने भयो ।’


पुस्तकालयलाई यादवले झैं आफैं सामग्री उपलब्ध गराउनेहरू एकातिर छन् भने पुस्तकालय स्वयं पनि खोज र अनुसन्धानमा जुट्ने गरेको अभिलेखाध्यक्ष मिश्रले जानकारी दिए । ‘२०७२ को भूकम्पपछि हामीले असनको एउटा राजभण्डारी परिवारले जतनसाथ राखेको १९ औं शताब्दीका कागजपत्र फेला पार्‍यौं,’ उनले भने, ‘ती राजभण्डारी सरकारी जागिरको सिलसिलामा त्यो बेला जुम्ला पुगेका रहेछन् । लालमोहर छापसहितका कागज हेर्दा अहिले अनौठो लाग्छ ।’


पुस्तकालयमा विसं २०१५ को निर्वाचनका बेला प्रयोग भएका चुनावी पर्चा, पम्प्लेट आदि सुरक्षित छन् । अध्यक्ष दीक्षितले आफूहरूसँग भएका कतिपय सामग्री वास्तवमा सम्बन्धित निकायले राख्नुपर्ने बताए । ‘हामी त छापा माध्यमको अर्काइभ गर्ने संस्था हौं,’ उनले भने, ‘फोटो, अडियो/भिडियोका लागि छुट्टै अर्काइभ हुनुपर्छ । अहिले त्यो नभएकाले हामीसँग आएका चिज सुरक्षित राखेर पछि ती खुले भने वा सरकारले व्यवस्था गरे उसैलाई दिन्छौं ।’

कला र शैली

तीन सर्जकलाई सम्मान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल स्रष्टा समाजले यस वर्ष स्रष्टा सम्मान तीन स्रष्टालाई अर्पण गर्ने भएको छ । शास्त्रीय शैलीका रचनाकार स्व नारायणदत्त शास्त्रीलाई शुभद्रा विश्वराज स्रष्टा सम्मान, साहित्य र सञ्चारका क्षेत्रमा साधनारत स्रष्टा सिर्जना शर्मालाई दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान र रमेश शुभेच्छुकलाई प्रसिद्ध कँडेल स्मृति युवा सम्मान गरिनेछ । स्रष्टा शास्त्रीलाई मरणोपरान्त सो सम्मान अर्पण गर्न लागिएको हो ।


सबै पुरस्कारमा जनही ११ हजार १११ रुपैयाँ र ताम्रपत्र रहेको छ । यसअघि समाजद्वारा स्थापित योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान नीलम कार्की र योगमाया न्यौपानेलाई तथा अभियन्ता राष्ट्रिय सम्मान वरिष्ठ इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिएको थियो ।

कला र शैली

नेपालीमा महाश्वेता देवी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– भारतीय साहित्यकार महाश्वेता देवीको पुस्तक ‘अक्लान्त कौरव’ नेपालीमा आएको छ । कथाकार तथा अनुवादक इस्मालीद्वारा अनुवादित पुस्तक शिखा बुक्सले छापेको हो । पुस्तकमा महाश्वेता देवीको जीवनी, व्यक्तित्व र कृतित्व पनि समावेश छ । यसअघि शिखा बुक्सले महाश्वेता देवीकै ‘हजार चौरासीकी मा’ को नेपाली अनुवाद ल्याएको थियो ।

कला र शैली

डाबरको तीज महोत्सव

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– महिला सशक्तीकरण र उद्यमशीलताको उद्देश्यले डाबर नेपालको उत्पादन डाबर गुलाबरीले भृकुटीमण्डप प्रदर्शनी हलमा तीज महोत्सव सुरु गरेको छ ।
महोत्सवको यो सत्रौँ संस्करण चार दिनसम्म चल्नेछ । स्थानीय उद्यमी महिलाहरूले बनाएका उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । विमेन्स क्रिएसन सेन्टरद्वारा आयोजित महोत्सवमा दुई सयभन्दा बढी स्टल रहेको विज्ञप्तिमा उल्लेख छ ।

Page 10
विदेश

भारतीय पत्रकार नैयरको निधन

- कान्तिपुर संवाददाता

नयाँदिल्ली (एजेन्सी)– भारतीय पत्रकार कुलदीप नायरको निधन भएको छ । उनको नयाँदिल्लीस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी ९५ वर्षका थिए । उनका श्रीमती तथा दुई छोरा छन् ।


नैयरले द स्टेट्सम्यान र इन्डियन एक्सप्रेसको सम्पादकका रूपमा कार्य गरेका थिए । पत्रकारका रूपमा नैयर विभिन्न समाचार संस्था तथा द टाइम्सको लन्डन संवाददातासमेत थिए । उनी भारतका पूर्वप्रधानमन्त्री लालबहादुर शास्त्रीको प्रेस सूचना अधिकारीका रूपमा समेत कार्य गरेका थिए ।


मानवअधिकारर्कीका रूपमा समेत परिचित नैयरले सन् १९९० मा बेलायतस्थित भारतीय उच्चायुक्तको कार्यालयमा सेवा गरेका थिए । उनी सन् १९९७ मा भारतको राज्यसभा सदस्यमा मनोनीत भएका थिए ।


भारतीय राष्ट्रपति रामनाथ कोभिन्दले ‘संकटकालताका लोकतन्त्रका लागि क्रियाशील वरिष्ठ सम्पादक तथा लेखक, कूटनीतिज्ञ र विधायकको मृत्युको समाचारले निकै दु:ख लागेको’ जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नायरको निधनप्रति दु:ख व्यक्त गर्दै ‘देशले एक महान बौद्धिक व्यक्तित्व गुमाएको’ बताएका छन् । ‘कुलदीप हाम्रो समकालीन पुस्ताका भीमकाय बौद्धिक व्यक्तित्व हुन्,’ उनले भनेका छन्, ‘आफ्ना विचारमा स्पष्ट र निडर नैयरले देशको हितका लागि गरेको योगदान अनन्तकालसम्म स्मरणीय रहनेछ ।’


नैयरका समसामयिक राजनीतिक तथा पत्रकारिता विषयका १५ पुस्तक प्रकाशित छन् । त्यसमध्ये इन्डिया आफ्टर नेहरू, इमर्जेन्सी, इमर्जेन्सी रिटोल्ड, विदाउट फियर : द लाइफ एन्ड ट्रायल अफ भगत सिंह र उनको आत्मकथा वियोन्ड द लाइन्स चर्चित छन् ।

विदेश

महाअभियोग लगाए अर्थतन्त्र धराशायी : ट्रम्प

- कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार फक्स एन्ड फ्रेन्डस् कार्यक्रममा अन्तर्वार्ता दिँदै । तस्बिर : एजेन्सी

वासिङ्टन (एएफपी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाअभियोग लगाइए अमेरिकी अर्थतन्त्र धराशायी हुने दाबी गरेका छन् । चुनावी अभियानका क्रममा दुई महिलालाई गरिएको गैरकानुनी भुक्तानीपछि राष्ट्रपतिमाथि महाअभियोग लगाइने हल्लाबीच ट्रम्पले बिहीबार फक्स एन्ड फ्रेन्डस् कार्यक्रममा अन्तर्वार्तामा दिएका हुन् ।


अन्तर्वार्ताका क्रममा उनले महाअभियोगपछि बजार ध्वस्त हुने दाबी गर्दै सबै जना गरिब हुने बताए । ‘म तपाईंलाई भन्छु, यदि मलाई महाअभियोग लगाइयो भने बजार ध्वस्त हुन्छ ।’ ट्रम्पले भने, ‘मलाई लाग्छ, सबै गरिब हुनेछन् ।’ उनले आफूले निकै महान् कार्य गरेको दाबी गर्दै भने, ‘मलाई थाहा छैन, यस्तो व्यक्तिलाई तपाईं कसरी महाअभियोग लगाउन सक्नुहुन्छ ।’


आफूसँग सम्बध रहेका दुई महिलालाई तिरेको रकमले चुनावी अभियानसम्बन्धी नियमविपरीत नरहेको पनि ट्रम्पको दाबी छ । उनका पूर्व वकिल माइकल कोहेनले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा गैरकानुनी रूपमा रकम भुक्तानी दिएको बुधबार स्वीकार गरेका थिए । चुनावी अभियानका क्रममा पोर्नस्टार स्टोर्मी डयानियल्स र प्लेब्वाई मोडेल कारेन म्याकडगलाई रकम भुक्तानी दिइएको कोहेनले अदालतसमक्ष स्विकारेका हुन् ।


अन्तर्वार्तामा ट्रम्पले ‘उक्त रकम चुनावी अभियानबाट नभई व्यक्तिगत रूपमा भुक्तानी गरिएको×’ जनाए । उनले कम जरिवानका लागि कोहेनले बनावटी कुरा गरेको दाबी गरेका छन् । ‘त्यो रकम मेरो व्यक्तिगत हो,’ अन्तर्वार्ताका क्रममा ट्रम्पले भने, ‘मैले पहिले नै टीट गरिसकेको छु । उक्त रकम मेरो चुनावी अभियानको होइन् ।’ तर यसअघि ट्रम्पले त्यस्तो भुक्तानी एकपटक मात्र गरिएको थाहा भएको बताएका थिए ।


कोहेनले राष्ट्रपति ट्रम्पको आदेश र संयोजनमा रकम भुक्तानी दिएको बताएका थिए । कोहेनको स्विकारोक्तिसँगै ट्रम्पमाथि कानुनी जोखिम बढाएपछि ट्रम्पले चुनावी अभियान नियम उल्लंघन नगरेको दाबी गरेका छन् । गत जुलाईमा सार्वजनिक भएको एक श्रव्य टेपमा ट्रम्प र कोहेनले राष्ट्रपतीय चुनावअघि रकम भुक्तानी दिने सम्बन्धमा छलफल गरेका थिए । तर उक्त भुक्तानीबारे भने संघीय चुनावी आयोगमा जानकारी गराइएको थिएन् ।


अमेरिकी चुनावी कानुनअनुसार चुनावलाई प्रभावित पार्ने उद्देश्यका साथ गरिने कुनै पनि आर्थिक कारोबारबारे जानकारी गराउनुपर्छ । कोहेन एक दशकभन्दा लामो समयसम्म ट्रम्पको व्यक्तिगत वकिल रहेका थिए ।


यसअघि भर्जिनियाको जुरीले ट्रम्पका चुनावी अभियान प्रमुख पल म्यानाफोर्टलाई विभिन्न मुद्दामा दोषी ठहर गर्दै सजाय गर्ने आदेश दिएको थियो । उनीमाथि धोखाधडी, कर छली तथा विदेशी बैंकमा गोप्य खाता सञ्चालनमा दोषी ठहर गरिएको हो । ट्रम्पले भने उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै म्यानाफोर्ट ‘असल मानिस’ रहेको प्रतिक्रिया दिएका थिए ।

विदेश

‘नेपालको संविधान विश्वकै उत्कृष्ट’

- कान्तिपुर संवाददाता

लन्डन (कास)– आयरल्यान्डका राष्ट्रपति माइकल डी हिगिन्सले सन् २०१५ मा संविधानसभाबाट जारी नेपालको संविधान लोकतान्त्रिक, समावेशी र विधिको शासनका मूल्य र मान्यता समाहित विश्वकै उत्कृष्ट संविधान भएको बताएका छन् ।


नेपाल–आयरल्यान्डबीच दौत्य सम्बन्ध स्थापनाको बीस वर्ष पुगेको अवसरमा नेपाली दूतावासद्वारा आयरल्यान्डको राजधानी डब्लिनमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपतिले गत वर्ष सम्पन्न आमनिर्वाचनले नेपालमा राजनीतिक स्थायित्व हासिल भई आर्थिक विकासको निम्ति मार्ग प्रशस्त भएको बताए ।


उनले नेपाल र आयरल्यान्डबीचको सरकारी सम्बन्धलाई अब जनस्तरमा समेत विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । ‘साहित्य, संगीत, कला र संस्कृतिको आदानप्रदानका माध्यमबाट जनस्तरमा सम्बन्ध विस्तार गर्न सकिन्छ’, आयरल्यान्डको राजधानी डब्लिनमा आयोजित कार्यक्रममा हिगिन्सले भने, ‘भौगोलिक रूपमा आयरल्यान्ड र नेपाल टाढा रहे पनि दुई मुलुक कला, साहित्य, संगीत, संस्कृति र प्रकृतिको समृद्धि एवं शान्ति, मैत्री, भ्रातृत्व र विश्व बन्धुत्वप्रतिको समान आस्थाका कारण धेरै नजिक छन् ।’


डब्लिनस्थित कूटनैतिक नियोगहरूले आयोजना गर्ने कार्यक्रममा आयरल्यान्डका राष्ट्रपतिको उपस्थिति विरलै हुने गरेकामा नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी भई हिगिन्सले आयरल्यान्ड र नेपालले एकै दिन संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेको समेत स्मरण गरे । उनले विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा नेपाल र आयरल्यान्डको साझा धारणा रहेको र संयुक्त राष्ट्रसंघको तत्वावधानमा यी दुई मुलुकले विश्वमा शान्ति स्थापना गर्न आआफ्ना सैनिक परिचालन गरिरहेको समेत बताए ।


उनले नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण समृद्व राष्ट्र भएको उल्लेख गर्दै विविधताबीचको एकतालाई सदियौंदेखि जोगाएर राखेका नेपाली जनता धन्य रहेको पनि उल्लेख गरे ।


आफ्ना चार काव्यकृति र तीनवटा राजनैतिक ग्रन्थ प्रकाशित भएको उल्लेख गर्दै हिगिन्सले बेलायत र आयरल्यान्डका लागि नेपाली राजदूत सुवेदीले आफ्ना प्रतिनिधि कविताहरू नेपाली भाषामा अनुवाद र सम्पादन गरी ‘माइकल डी हिगिन्सका प्रतिनिधि कविता’ का रूपमा प्रकाशन गरेकामा कृतज्ञता व्यक्त गरे ।

Page 11
अर्थ वाणिज्य

पारित भयो मन्ट्रियल महासन्धि

यो महासन्धि पारित भएबाट अन्तर्राष्ट्रिय उडान दुर्घटना तथा अन्य घटनामा नेपालीले विदेशीसरह क्षतिपूर्ति पाउनेछन्
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रतिनिधिसभाले अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी मन्ट्रियल महासन्धि सर्वसम्मतिले पारित गरेको छ । नेपाल अब यो महासन्धिको सदस्य मुलुक भएको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसलाई ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि (मन्ट्रियल महासन्धि, १९९९)’ भनेको छ । यो महासन्धि पारित भएबाट अन्तर्राष्ट्रिय उडान दुर्घटना तथा अन्य घटनामा नेपालीले विदेशीसरह क्षतिपूर्ति पाउनेछन् ।


हवाई यात्रामा हुने जोखिम कम गर्न र यात्रुको सुविधालाई संसारभर एकैखालको बनाउन क्यानडाको मन्ट्रियलमा सन् १९९९ मे २८ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले यो महासन्धि पारित गरेको थियो । यसमा हालसम्म १ सय ३१ देशले हस्ताक्षर गरिसकेका छन् । नेपालका दुवै छिमेकी चीन र भारत यसका पक्ष राष्ट्र हुन् भने सार्क सदस्य पाकिस्तान र माल्दिभ्सले पनि अनुमोदन गरिसकेका छन् । नेपाल अब १३२ औं राष्ट्र भएको छ । हवाई उडानसँग सम्बन्धित वार्सा महासन्धि १९२९ र त्यसको हेग प्रोटोकल १९५५ को नेपाल सदस्य राष्ट्र भए पनि यसका व्यवस्थाहरूले यात्रीमैत्री व्यवस्था गर्न असमर्थ भएकाले मन्ट्रियल महासन्धिको पक्ष राष्ट्र हुन जरुरी थियो ।


संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यो महासन्धि लागू भएपछि नेपाल उडान गर्ने अन्य देशका वायु सेवा कम्पनीहरूले प्रत्येक यात्रुको दायित्व तय गर्नुपर्ने हुन्छ । पर्यटकले दुर्घटना वा हवाई अव्यवस्थापनका कारण भोग्नुपरेको कष्ट वा क्षतिको यसले तोकिएको क्षतिपूर्ति सुनिश्चित गर्नेछ । यो पारित भएको ६० दिनपश्चात् लागू हुनेछ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार सरकारले यो महासन्धि पारित गरेको जानकारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनलाई गराउनुपर्छ । यता आन्तरिक उडानका यात्रुलगायतको दायित्वबारे छुट्टै कानुन तर्जुमा गर्नुपर्ने हुन्छ ।


यो महासन्धि लागू भएका देशमा यात्रुको सामान डेलिभरी गर्न हवाई कार्गाेले ढिला गरे वा ओसार्ने क्रममा सामानको नोक्सानी भए प्रतिकेजी १९ एसडीआर (स्पेसल ड्रइङ राइट्स) तिर्नुपर्छ । एसडीआर भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषले तय गरेको मानक मुद्रा हो, जो हाल एक एसडीआर बराबर १.४० अमेरिकी डलर (१५४.३५ नेपाली रुपैयाँ) हुन आउँछ ।

अर्थ वाणिज्य

केरुङमा रोकिए करोडौंका सामान

केरुङमा राखिएका ४ कन्टेनरबाट सामान चोरी भयो : व्यवसायी
- बलराम घिमिरे
नेपाल प्रवेश गर्न केरुङ नाकामा लामबद्ध मालबाहक कन्टेनर । तस्बिर : कान्तिपुर

रसुवा– रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिराले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् ।


रसुवागढीको नाका नजिकैको पहिरो, घट्टेखोलाको पुललाई बाढीले पुर्‍याएको क्षति र गोसाइँकुण्ड गाउँपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको हो । तीन साताअघिबाट यातायात अवरुद्ध भएपछि हालसम्म झन्डै १ हजार २ सय कन्टेनर केरुङमै थन्किएका हुन् । आयात गर्न लागिएका अघिकांश सामग्री दसैं र तिहारसँग सम्बन्धित छन् ।
यातायात अवरुद्ध भएपछि रसुवा भन्सारको कारोबार ठप्प भएको छ । तातोपानी नाका बन्द भएपछि प्रमुख नाकाका रूपमा सञ्चालित रसुवागढीसमेत अवरुद्ध हुँदा व्यवसायीले झन्झट बेहोर्नुपरेको छ । स्याउलगायत कुहिने सामग्रीहरू व्यवसायीले बोकाएरै राजधानी ल्याइरहेका छन् । आयात ठप्प हुँदा दैनिक लाखौं राजस्व असुल हुने नाका सुनासान छ ।


गोदाममा राखिएका र कन्टेनरमा लोड गरिएका सामान असुरक्षित भएको व्यवसायी टपेन्द्र तिमिल्सिनाले बताए । यसबाट व्यवसायीले करोडौंको घाटा व्यहोर्नुपर्ने अवस्था छ । ‘तीज पर्वका लागि झिकाइएका सामान त यो वर्ष राजधानी नआउने भयो,’ अर्का व्यवसायी शैलेश पौडेलले भने, ‘लोड गरिएका कन्टेनरका सामान चोरी हुन थालेको छ ।’ केरुङमा रहेको ४ कन्टेनरबाट सामान चोरी भएको उनले बताए । ‘तीजका लागि ल्याएको सौन्दर्य र तयारी पोसाक अधिक छ । दसैंका सामान पनि छिट्टै राजधानी भित्र्याउन नसके बिक्री गर्न सकिँदैन,’ उनले भने ।


सडक कार्यालय नुवाकोटले यातायात सञ्चालन हुन अझै केही दिन लाग्ने अनुमान गरेको छ । सडक डिभिजन प्रमुख निरज शाक्यका अनुसार गोसाइँकुण्ड गाउँपालिकाको घट्टे खोलाको पुल मर्मत भइरहेको छ । पुलको ढलानको काम सकिएको छ । ‘पुल एक सातामा सञ्चालनमा ल्याउने तयारी गरेका छौं,’ शाक्यले भने । तर, रसुवागढी नाका र त्रिशूली नजिककैको खोपाङ भीरको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन समय लाग्ने उनको अनुमान छ । यी दुवै पहिरा जटिल खालका छन् । माटो पन्छाएर वा तलबाट तारजाली लगाएर खुलाउन सकिँदैन । ब्लास्टिङ गरेर खोल्नुपर्ने हुन्छ । ब्लास्टिङका लागि नेपाली सेनाको सहायता लिनुपर्ने हुन्छ । अध्ययन गर्न मध्य पृतना हेटौंडाको नेपाली सेनाको टोलीले बुधबार अनुगमन गरेको थियो । अनुगमन प्रतिवेदन सेनाको हेडक्वार्टरमा बुझाउने र त्यसपछि काम हुनेछ ।


सडक अवरुद्ध भएपछि नाकाबाट व्यवसायीहरू सामान छाडेर फर्केका छन् । केरुङमा सामान राख्ने गोदामसमेत पाइन छाडेको व्यवसायीहरूले बताएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलका अनुसार व्यवसायीको टोलीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठसँग भेटेर सडक सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ । ‘सरोकारवाला सबैसँग अनुरोध गरेका छौं,’ उनले भने, ‘यातायात अवरुद्ध हुँदा सबैभन्दा बढी व्यवसायी मर्कामा परेका छन् । एकातिर व्यापारीले लाखौं घाटा व्यहोरिरहेका छन्, अर्कातर्फ सरकारको राजस्व संकलन ठप्प छ ।’


राजधानीलगायत मुलुकका मुख्य बजारहरूमा चिनियाँ सामानकै वर्चश्व छ । दसैंमा चिनियाँ तयारी पोसाकको बढी माग हुने गरेको छ । यहाँबाट मुख्यत: तयारी पोसाक, फर्निचर, स्टेसनरी सामान, जुत्ता, चप्पल, ब्याग, मेसिनरी औजार, स्याउ, लसुन, मखमल कपडा, कम्युटरका पार्टसलगायत व्यापारिक सामान आयात हुने गरेको छ ।

अर्थ वाणिज्य

ब्याज बढाएरै बैंक नाफामा

व्यवसाय विस्तारका लागि नयाँ क्षेत्र पहिचानसहित नवप्रवर्तन गर्नुको सट्टा ऋणको ब्याजदर वृद्धिमै बैंकहरूले ध्यान केन्द्रित गरेका छन्
- यज्ञ बञ्जाडे

काठमाडौं– सञ्चालनमा रहेकामध्ये २२ बैंकले गत वर्ष निक्षेप र कर्जाबीचको ब्याजअन्तर (स्प्रेड) बढाए । यो नै बैंकहरूको नाफा वृद्धिको प्रमुख कारण बन्यो । डेढ वर्षयता लगानीयोग्य पुँजीको अभाव भएको गुनासो गर्दै आएका बैंकको नाफा भने लोभलाग्दो छ ।


गएको वर्ष वाणिज्य बैंकहरूले ५३ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरे । यो बैंकहरूको कुल आयबाट कुल खर्च र कर घटाएर आएको शुद्ध नाफा हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस्तो नाफा करिब २३ प्रतिशतले बढेको छ । यो अर्थतन्त्रको औसत वृद्धिदरभन्दा धेरै बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ती बैंकहरूको यस्तो नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो ।


चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकहरूको नाफा वृद्धिको प्रमुख स्रोत ब्याज आम्दानी नै छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष २२ वटा बैंकहरूको कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) बढेको छ । बाँकी बैंकहरूको स्प्रेड घटेको छ । यसको अर्थ व्यवसाय विस्तारका लागि नयाँ क्षेत्र पहिचानसहित ‘नवप्रवर्तन’ ल्याउनुको साटो ऋणको ब्याजदर वृद्धिमै बैंकहरूले ध्यान केन्द्रित गरे भन्ने हो । केही बैंकहरूको स्प्रेड राष्ट्र बैंकले तोकिदिएको अधिकतम ५ प्रतिशतभन्दा पनि बढी छ । प्रकाशित वित्तीय विवरणअनुसार २१ बैंकहरूको स्प्रेड ४ प्रतिशतभन्दा बढी छ । जसमध्ये चारवटा बैंकको स्प्रेड ५ प्रतिशत बढी छ । ती बैंकहरूको स्प्रेड राष्ट्र बैंकले दिएको अधिकतम सीमाभन्दा धेरै हो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशतभन्दा बढी ब्याजअन्तर राख्न पाउँदैनन् । यो वर्षको अन्त्यसम्म वाणिज्य बैंकहरूले स्प्रेड साढे ४ प्रतिशतमा झारिसक्नुपर्ने नयाँ निर्देशन छ ।


बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाबीचको ब्याजअन्तर धेरै गराएकै कारण औसतभन्दा बढी वृद्धिदर हासिल भइरहेको पूर्वसचिव रामेश्वर खनालले बताए । मुलुकको आर्थिक विकासका लागि आवश्यक लगानी (पुँजी) जुटाएर बैंकहरूले महत्त्वपूर्ण योगदान पुर्‍याए पनि उपभोक्ताले व्यवयाय विस्तारको लाभ प्राप्त गर्न नसकेको उनको भनाइ छ । ‘बैंकहरूमा निक्षेपमा सकेसम्म कम ब्याज दिने र ऋणमा सकेसम्म बढी ब्याज उठाउने प्रवृत्ति हाबी छ,’ उनले भने, ‘यही कारण अर्थतन्त्रको औसत वृद्धिदर करिब १५ प्रतिशत हुँदा बैंकहरूको मुनाफा वृद्धिदर त्योभन्दा बढी छ ।’ यद्यपि मुलुकको आर्थिक वृद्धिमा धेरै योगदान पुर्‍याउने सेवा क्षेत्रहरूमा बैंकहरूको ठूलो लगानी केन्द्रित भएकाले त्यसले समग्र आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको उनले दोहोर्‍याए ।


‘विद्यमान परिस्थितिको फाइदा उठाउँदै केही बैंकहरूले स्प्रेड धेरै बढाए,’ पूर्वबैंकर ससिन जोशीले भने, ‘तर, यसलाई सामान्यीकरण गर्न मिल्दैन ।’ उनको विचारमा वर्षको नाफा वृद्धिदर अस्वाभाविक होइन ।’ रकमका आधारमा मात्र बैंकहरूको नाफा बढेको रूपमा हेर्न नहुने उनले बताए । ‘रकमका आधारमा अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको नाफा बढेको छ । तर, पुँजी वृद्धिको अनुपातमा निरन्तर रूपमा घटिरहेको छ,’ उनले भने, ‘अघिल्लो वर्ष १७ प्रतिशत रहेको बैंकहरूको सम्पत्तिको प्रतिफल गत वर्ष साढे १४ प्रतिशतमा झरेको छ ।’


गत वर्षमा २८ वटा बैंकहरूको चुक्ता पुँजी करिब ३४ अर्ब रुपैयाँले बढेर २ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको पुँजी १७.१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकहरूको चुक्ता पुँजी १ खर्ब ९८ अर्ब ८६ करोड रुपैयाँ थियो । बैंकहरूको गत वर्षको खुद नाफा वृद्धिदर चुक्ता पुँजी वृद्धिदरभन्दा बढी हो । यसैगरी गएको वर्ष वाणिज्य बैंकहरूमा साढे ३ खर्ब रुपैयाँ निक्षेप संकलन गरे । यो अघिल्लो वर्षको तुलनामा १६.७७ प्रतिशतको वृद्धि हो । सोही अवधिमा बैंकहरूले थप ३ खर्ब ७६ अर्ब रुपैयाँ लगानी विस्तार गरे । यो २१.६७ प्रतिशतको वृद्धि हो । यसबाट बैंकले सम्पत्ति र दायित्वबीच सन्तुलन मिलाउन नसकेको स्पष्ट हुन्छ । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलनको तुलनामा कर्जा विस्तार दर उच्च रहेकाले वित्तीय क्षेत्र असन्तुलित अवस्थामा रहेको राष्ट्र बैंकले पनि स्वीकार गरेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा यस्तो उल्लेख छ ।


गत वर्ष अधिकांश महिनाहरूमा बैंकहरूको ब्याजदर उच्च रहयो । लगानीयोग्य रकम अभाव भएको बहानामा बैंकहरूबीच निक्षेपको ब्याजदर वृद्धिको होडबाजी नै चल्यो । त्यो नियन्त्रणका लागि बैंकर्स संघले पटकपटक ब्याजदर नबढाउने सहमति (भद्रसहमति) नै गर्नुपर्‍यो । जुन अहिले पनि लागू छ । सोही सहमतिअनुसार अहिले पनि बैंकहरूले ग्राहकलाई मुद्दती निक्षेपमा ११ र साधारण बचतमा ७ प्रतिशतभन्दा बढी ब्याज दिन पाउँदैनन् । यसरी निक्षेपको ब्याजमा सीमा तोकिएपछि राष्ट्र बैंकको सीमामा बसेर ऋणको ब्याज बढाउन उनीहरूलाई बाटो खुला भयो । गत वर्ष अधिकांश बैंकहरूको स्प्रेड बढ्नुको प्रमुख कारण पनि यही हो ।


आधार ब्याजदर (बेसरेट) भन्दा तल ऋण दिन नपाइने राष्ट्र बैंकको निर्देशन र फराकिलो स्प्रेडका कारण गत वर्ष बैंकहरू राम्रो नाफा आर्जन गर्न सफल भएको चार्टर्ड एकाउन्टेन्ट एवं पूर्वबैंकर अनलराज भट्टराईले बताए । उच्च दरले बढेको आयातले बैंकको विदेशी विनिमयको कारोबार, प्रतीतपत्रलगायत अन्य गैरबैंकिङ आम्दानी उच्च दरले बढेकाले बैंकहरूको वृद्धिदर उच्च देखिएको उनको भनाइ छ । ‘गएको तीन वर्षमा बैंकहरूको सञ्चालन खर्च करिब १० अर्ब रुपैयाँले बढयो, सोही अवधिमा बैंकहरूले करिब २ खर्ब रुपैयाँ पुँजी बढाए,’ उनले भने, ‘थपिएको पुँजीमा १० प्रतिशतको मात्र प्रतिफल मान्दा पनि करिब २० अर्ब रुपैयाँ बैंकहरूले कमाए । यही प्रतिफलले बैंकहरूको सञ्चालन लागतलाई धानेकाले नाफा वृद्धिदर राम्रो देखिएको हो ।’ आउँदा दिनमा बैंकहरूले हालको जत्तिकै नाफाको वृद्धिदर टिकाइराख्न मुस्किल रहेको उनको अनुमान छ ।


गएको दुई वर्षयता सेयरधनीको प्रतिफल (रिटर्न अन इक्विटी–आरओई) घटदो क्रममा छ । यो प्रवृत्ति चौथो त्रैमासको वित्तीय विवरणमा पनि देखियो । आरओईको अर्थ बैंकमा बैंकमा लगानी गरिएको पैसाले कति प्रतिफल दिन सक्छ भन्ने हो । गत वर्ष अधिकांश बैंकका सेयरधनीको प्रतिफल घटयो । राष्ट्र बैंकको निर्देशनअनुसार २४ महिनामा चार गुणा चुक्ता पुँजी बढाउनुपरेको र बढेको पुँजीको तुलनामा बैंकहरूको व्यावसायिक विस्तार हुन नसकेकाले आरओई घटेको बैंकरहरूको गुनासो छ । गत आर्थिक वर्षमा ५ वटा बैंकहरूको मात्र आरओई २० प्रतिशतभन्दा माथि छ । गत वर्ष एक दर्जनभन्दा बढी बैंकहरूको आरओई २० प्रतिशतभन्दा बढी थियो ।

Page 12
अर्थ वाणिज्य

मरिच बरामद

- कान्तिपुर संवाददाता

सिमरा (कास)– भारततर्फ लुकाइछिपाई लैजान खोजिएको २ हजार ३ सय किलो सेतो मरिच सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीले रेगनिया घाटबाट नम्बर नखुलेको भारतीय टयाक्टरबाट ४६ बोरा मरिच बरामद गरेको हो । भित्रबाट सेतो र बाहिरबाट पहेंलो रङको बोरामा प्याक गरिएको उक्त मरिच भारतमा महँगो भाउमा बिक्री हुने भएकाले तस्करी बढेको अनुमान सशस्त्र प्रहरी बल बाराका गणपति बलराम पोखरेलको छ । नेपाली बजारमा सेतो मरिच १ हजार ५ सय रुपैयाँ किलो र कालो मरिच ७ सय रुपैयाँ प्रतिकिलोमा खरिद बिक्री हुने गरेको कलैयाका किराना व्यवसायी ज्ञानेश्वर यादवले बताए । ‘भारतीय बजारमा मरिचको मूल्य उच्च रहेकाले यसको तस्करी बढेको हुन सक्छ,’ उनले भने, ‘मरिचको तस्करी बढेको आफूले पनि सुनेको छु ।’ भियतनामबाट नेपाल भित्र्याइएको मरिच पछिल्लो समय भारतमा तस्करी हुने गरेको छ । ‘निश्चित मापदण्ड तोकेरै मरिच भारतमा आयात हुन्छ,’ स्रोतले भन्यो, ‘त्यसले माग धान्न नसकेपछि नेपालबाट लुकाई छिपाई मरिच भारत पुर्‍याइन्छ ।’

 

अर्थ वाणिज्य

लसुनले भाउ पाएन

- हरि गौतम

रुकुम पश्चिम– मूल्य नपाएपछि यहाँको एउटै वडाको तीन सय क्विन्टल लसुन बिक्री भएको छैन । मुसीकोट नगरपालिका १० का किसानले उत्पादन गरेको लसुन उचित मूल्य नपाएपछि बिक्री नगरेका हुन् ।


गत वर्षको तुलनामा यो वर्ष लसुनले मूल्य पाएको छैन । व्यापारीहरूले गत वर्षको भन्दा ४० रुपैयाँ कम मूल्यमा लसुन किन्छौं भनेपछि किसानले लसुन बेचेका छैनन् । गत वर्ष प्रतिकिलो १ सय २० रुपैयाँमा लसुन बिक्री गरेका किसानले यो वर्ष ८० रुपैयाँमा मात्रै लसुन बिक्री गर्न मानेका छैनन् । ‘८० रुपैयाँले हाम्रा लागत नै उठ्दैन कसरी बिक्री गर्नु,’ लसुन उत्पादक किसान झुपलाल खड्काले भने, ‘एकैपटक ठूलो अन्तरमा घटाइएको मूल्यमा हामी कसैले लसुन बिक्री गर्न सकेका छैनौं ।’


विभिन्न टोलमा उत्पादन भएको तीन सय क्विन्टल लसुन किसानको घरमै थन्किएको छ । समयमै लसुन बिक्री नभएर खराब भएर जाने भन्दै किसान चिन्तित बनेका छन् । अर्का किसान खम्बुबहादुर खड्काले घाटा हुने भएपछि कसैले पनि लसुन नबेचेको बताए । ‘हाम्रो यो चुन र गलम्पाटी टोलमा घरघरै लसुन उत्पादन भएको छ,’ उनले भने, ‘व्यापारीले तोकेअनुसार हाम्रो दु:ख उठदैन । त्यसैले हामी कसैले लसुन बेचेका छैनौं ।’ उनले आफू र झुपलाल खड्काले ५०/५० क्विन्टल लसुन उत्पादन गरेको जानकारी दिए ।


१० नम्बर वडाका करिब ४० घरधुरीले लसुन उत्पादन गरेका छन् । एउटा घरमा २ देखि ५० क्विन्टलसम्म लसुन थन्किएको वडा अध्यक्ष गोपेश्वर केसीले बताए । ‘यस विषयमा नगर कार्यपालिकामा पनि छलफल भएको थियो,’ उनले भने, ‘नगर कार्यपालिकाले प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मालाई बजार पहिचान गर्ने जिम्मा दिएको छ ।’ हालसम्म पनि लसुनको उचित मूल्य दिने बजार नभेटिएको अध्यक्ष केसीले बताए । यातायात सेवा नहुँदा पनि किसानले थप हैरानी व्यहोर्नुपरेको उनको भनाइ छ ।

अर्थ वाणिज्य

एनसेलले ल्यायो ‘लेट्जगो’

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनसेलले सार्वजनिक यातायातको सेवालाई सहज बनाउने एप ‘लेट्जगो’ ल्याएको छ । यो एपले उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिले अब आफ्नो रुटमा चल्ने बसको सहज रूपमा पूर्वजानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्नेछन् ।
एनसेलले राम लक्ष्मण इनोभेसन्ससँग सहकार्य गर्दै ‘लेट्जगो’ ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ । लेट्जगो शुक्रबारदेखि सञ्चालनमा आउने एनसेलको सिम प्रयोगकर्ताले उक्त एपको सेवा लिँदै बस स्टयान्डमा लामो प्रतीक्षा गर्नुपर्ने झन्झटबाट मुक्त हुने दाबी कम्पनीको छ ।

अर्थ वाणिज्य

युनाइटेड सिमेन्टको योजना

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– युनाइटेड सिमेन्टले हरेक १५ बोराको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिने योजना ल्याएको छ । यो योजनाले आम उपभोक्तालाई विशेष लाभ पुग्ने दाबी कम्पनीको छ । ललितपुरको लेलेस्थित आफ्नै चुनढुंगा खानी र धादिङको नौबिसेमा फयाक्ट्री रहेको युनाइटेड सिमेन्टले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट सिमेन्ट उत्पादन गर्दै आएको जारी विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

सिभिलको अनलाइन फी पेमेन्ट

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सिभिल बैंकले आफ्नो सबै शाखामार्फत अनलाइन फी पेमेन्ट गर्न सकिने योजना ल्याएको छ । विदेशको उच्च शिक्षा हासिल गर्न दिनुपर्ने अनिवार्य परीक्षाहरू स्याट, जिम्याटलगायतको रजिस्ट्रेसन शुल्क र नेपालमै बसी अध्ययन गर्न सकिने अन्तर्राष्ट्रिय कोर्स एसीसीएमा अनलाइन कोर्सहरूको रजिस्ट्रेसन तथा फी पनि अब विद्यार्थीहरूले सहजै रूपमा सिभिल बैंकका शाखाहरूबाट भुक्तानी गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

बिमा सम्झौता

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल इन्भेस्टमेन्ट बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंक बिमासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र सिटिजन इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले हस्ताक्षरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

नगदरहित सेवा सम्झौता

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– आईएमई जनरल इन्स्योरेन्सले नगदरहित अन्तरंग सेवा स्वास्थ्य बिमा योजना ल्याएको छ । उक्त सेवालाई प्रादेशिक तहमा समेत विस्तार गर्ने उद्देश्यसहित इन्स्योरेन्स र नेसनल मेडिकल कलेज वीरगन्जबीच आपसी समझदारीपत्रमा हस्ताक्षर भएको जारी विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

प्रभुमा दुई युवा बैंकर थपिए

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रभु बैंकको उच्च व्यवस्थापनमा दुईजना युवा बैंकर थपिएका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा दिनेश थकाली र चिफ क्रेडिट अफिसर (सीसीओ) मा निरज लम्साल नियुक्त भएको जारी विज्ञप्तिमा उल्लेख छ । थकालीले भदौ १ र लम्सालले भदौ ४ बाट कार्यभार सम्हालेको प्रभु बैंकले जनाएको छ ।

 

Page 13
अर्थ वाणिज्य

प्रोबायोटिकका उत्पादन ‘अयोग्य’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रोबायोटिक इन्डस्ट्रिज प्रालिबाट उत्पादित खाने तेल ‘खान अयोग्य’ भएको फेला परेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आकस्मिक निरीक्षण गर्दा उक्त उद्योगको तेल गुणस्तरहीन फेला परेको हो ।


‘निरीक्षणका क्रममा उद्योगबाट उत्पादित तोरी, भटमास र सूर्यमुखीको प्रशोधित तेलको नमुना र उत्पादनका निमित्त आवश्यक पर्ने अप्रशोधित तेलको नमुना संकलन गरेका थियौं,’ बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नवराज ढकालले भने, ‘संकलित नमुना गुणस्तर तथा नापतौल विभागको प्रयोगशालामा परीक्षण गर्दा खान अयोग्य भेटियो ।’


सनफ्लावर, भटमास र तोरीको तेल अयोग्य भएकाले थप कारबाही घि बढाएको मन्त्रालयले जनाएको छ । ‘उद्योग हेर्दा साह्रै सफा थियो । कैफियत छ जस्तो लागेको थिएन,’ पत्रकार सम्मेलनमा मन्त्री यादवले भने, ‘तर, परीक्षणका क्रममा कैफियत फेला पर्‍यो । उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार कारबाहीका लागि अघि बढाएका छौं ।’


विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार सनफ्लावर तेलमा एसिड भ्यालु अधिकतम ० दशमलव ४ प्रतिशत हुनुपर्नेमा ० दशमलव ६ प्रतिशत भेटिएको थियो । भटमासको तेलमा प्रिफयाक्ट्रिज एसिड ० दशमलव २५ हुनुपर्नेमा ० दशमलव २ मात्रै थियो । तोरीको तेलमा सपलिकेसन भ्यालु १६८ देखि १७६ हुनुपर्नेमा १९३ पाइएको थियो । चाडबाड नजिकिएकाले अनुगमन थप प्रभावकारी बनाइने बताए । ‘चाडबाड आएको छ । गृह, कृषि, आपूर्ति मन्त्रालयको एकबद्धता छ ।

अर्थ वाणिज्य

पोल्ट्री सम्मेलन हुँदै

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कुखुरापालन सम्बद्ध वैज्ञानिकको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । कात्तिक ११ देखि १३ गतेसम्म चल्ने ‘अन्तर्राष्ट्रिय पोल्ट्री सिम्पोजियम २०१८’ मा १० देशका ५० भन्दा बढी वैज्ञानिकले भाग लिनेछन् ।

अर्थ वाणिज्य

६ वर्ष बित्यो पुल बनेन

२५ मिटर चौडाइ भएको खोलामा ४६ मिटरको डिजाइन
- भीमबहादुर सिंह

जाजरकोट– खलंगामा यातायात सञ्चालन भएको दशक बित्यो तर छिन्चु–जाजरकोट सडकको खलंगाबजार जोड्ने पासागाड खोलामा पुल निर्माण हुन सकेको छैन । सडक विभागको चरम लापरबाहीले खलंगाको पासागाड पुल निर्माण ६ वर्षदेखि अलपत्र परेको हो ।


परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माण कार्य अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुशील पौडेलले बताए । पुल निर्माणका लागि ३ करोड लागतमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौंले ठेक्का लिएको थियो । निर्माणस्थल र डिजाइनको तालमेल नमिल्दा पुल निर्माण अवरुद्ध भएको पौडेलले जनाए । रिडिजाइन नगरी पुल निर्माण गर्न असम्भव भएपछि ढिलाइ भएको उनले बताए । ‘पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनले मेल नखाँदा निर्माण कम्पनीले निर्माण कार्य सुरु गर्न नसकेको हो,’ पौडेलले भने, ‘लागत र निर्माण कार्यको तालमेल नमिल्दा पुल निर्माण अघि बढ्न नसकेको हो ।’


परामर्शदाता कम्पनीले सात लाखको लागतमा पुलको डिजाइन कार्य गरेको इन्जिनियर पौडेलको भनाइ छ । ‘पुलको डिजाइन एक छ, निर्माण स्थलको लोकेसन अर्को छ,’ उनले भने, ‘कसरी निर्माण सुरु गर्ने ?’ परामर्शदाताले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ । तर, पासागाड खोलामा सर्भे गर्दा निर्माण स्थलको २५ मिटरभन्दा लम्बाई बढदैन । कम लागतमा निर्माण हुने पुलका लागि बढी बजेट खेर फाल्न नहुने स्थानीयको भनाइ छ ।


पाँच वर्षअघि निर्माण कम्पनीलाई साइट देखाउने क्रममा गलत डिजाइनको खुलासा भएको थियो । सडक डिभिजनले पुल निर्माणका लागि ३ करोड भुक्तानी नगर्ने भएपछि निर्माण कम्पनीले अझै काम सुरु गरेको छैन । सडक विभागले ठेक्का सम्झौताअनुरूप भुक्तानी दिने भए तत्काल कार्य सुरु गर्ने निर्माण कम्पनीले जनाएको छ । परामर्शदाताले पुलको सर्भे स्थलगत नगरेरै काल्पनिक डिजाइन बनाएको देखिन्छ । पुलको रिडिजाइन भएर लागत यकिन नभएसम्म निर्माण कार्य अघि नबढ्ने प्राविधिकले जनाएका छन् । सडक विभागले चालु आर्थिक वर्षमा पुलको रिडिजाइन गरेर निर्माण अघि बढाउने जनाएको छ ।


पुल नबन्दा वर्षातमा यातायात अवरुद्ध हुने गरेको छ । जाजरकोट, डोल्पा र जुम्लाका यात्रुले सास्ती पाएका छन् । पासागाड खोला खलंगा बजारदेखि चार किलोमिटर दूरीमा छ । सडक विभागको लापरबाहीले ६ वर्षअघि टेन्डर भएको उक्त पुलको निर्माण सुरसारसमेत भएको छैन ।


विभागको गलत डिजाइनका कारण पासागाड खोलामा पुल निर्माण ढिलाइ भएको हो । सडक विभाग र आईएमईआरसी कन्सल्टेन्सी ललितपुरको चरम लापरबाहीको कारण पुल निर्माण अलपत्र परेको हो । टेन्डर भएको २ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुलको शिल्यान्याससमेत नभएको स्थानीय कृष्ण मल्लले बताए । ‘सडक कालोपत्रे भएकै ६ वर्ष बित्यो,’ उनले भने, ‘तर, पासागाडमा पुल निर्माण सुरु भएन ।’


पुल नबन्दा बाढी आएको बखत रातभर सवारी साधन खोला किनारमा राखेर बस्नुपर्ने बाध्यता भएको चालक प्रकाश खत्रीले बताए । डोजरको सहायताबिना यातायातका साधन खोलाबाट निस्कन नसक्ने भएको खत्रीको भनाइ छ ।

Page 14
समाचार

बर्खामा ग्राभेल

- कान्तिपुर संवाददाता

रामेछाप (कास)– बर्खामा सडक ग्राभेल गर्दा लिखु तामाकोसी गाउँपालिकाको धोवीदेखि सिरिसे हुँदै ढाँडे र ओखलढुंगातर्फको यातायात ठप्प भएको छ । हिलाम्मे सडकले नाघीभन्दा तल सवारीसाधन नचल्दा सर्वसाधारण पैदल हिँडन बाध्य छन । जिल्ला आयोजना कार्यान्वयन इकाई अन्तर्गतको ईएपी कार्यक्रमबाट ग्राभेल हुन थालेको हो । सयममै सक्नुपर्ने भएकाले बर्खामा पनि काम गर्नुपरेको आयोजनाले जनाएको छ ।

 

समाचार

छोरी जन्मिए बैंक खाता

- कृष्णप्रसाद गौतम

सुर्खेत– वीरेन्द्रनगर–६, बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोरी प्रतिज्ञालाई जन्म दिइन् । परिवारले जन्म दर्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैंक खाता खोलिदियो । परिवारले अन्नप्राशनमा जम्मा भएको ७ हजार रुपैयाँ पनि खातामै जम्मा गरिदिए । ‘नगरपालिकाले खाता खोलिदिएपछि छोरीका लागि बचत गर्ने प्रेरणा मिल्यो,’ आमा सुशीलाले भनिन्, ‘छोरी विद्यालय जाँदासम्म ५० हजार रकम जम्मा गरिदिने लक्ष्य छ ।’


प्रतिज्ञाको मात्र होइन, वीरेन्द्रनगरभित्र जन्मिएका एक सय ५६ बालिकाको नाममा गत आर्थिक वर्षमा खाता खोलिएको नगरपालिकाले जनाएको छ । जनप्रतिनिधि निर्वाचित भएपछि एक सय दिनको प्राथमिकताभित्र ‘छोरी जन्म बचत खाता’ कार्यक्रम समावेश गरी निरन्तरता दिएका छन् ।
कार्यक्रमले किशोरीमैत्री नगर निर्माण योजनालाई सघाउ पुर्‍याएको नगरप्रमुख देवकुमार सुवेदीले बताए । लैंगिक विभेद घटाउन बचत खाता सञ्चालन गरिएको उनको भनाइ छ । ‘नीति तथा कार्यक्रममै समावेश गरेर कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ, यसले राज्यले छोरीलाई सम्झिएको सन्देश दिएको छ,’ उनले भने, ‘कार्यक्रमले छोरीलाई सम्मान र माया गर्न पनि प्रेरणा दिन्छ ।’


भ्रूण हत्या र लैंगिक विभेद न्यूनीकरणका लागि बैंक खाता कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ । छोरी जन्माउँदा अभिभावकले गर्व गर्ने वातावरण बनाउन खोजिएको छ । ‘यो अभियानले बैंकिङ पहुँच बढाउन समेत मद्दत गरेको छ,’ नगरप्रमुख सुवेदीले भने, ‘छोरीलाई हामीले खोलिदिएको खातामा थप रकम जम्मा गरेर अभिभावकले उनको शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकता पूरा गराउन सक्छन् ।’


नगरले खातालाई आधूनिक खुत्रुकेका रूपमा विकसित गर्न खोजेको जनाएको छ । वीरेन्द्रनगरले ज्येष्ठ नागरिकको सम्मानका लागि ‘बा–आमा चौतारी’ कार्यक्रमलाई पनि निरन्तता दिएको छ । प्रत्येक वडामा गएर ज्येष्ठ नागरिकसँग भेटघाट र छलफल गर्दै आएको छ ।


यस्तै गुर्भाकोट नगरपालिकाले पनि दुई साताभित्रै बचत खाता सञ्चालन गर्ने गरी ‘बालिका जन्म प्रोत्साहन’ कार्यक्रम सञ्चालन गर्न थालेको छ । गत आर्थिक वर्षमै सञ्चालन गर्न खोजिए पनि विभिन्न समस्याका कारण कार्यक्रम रोकिएको थियो । सबै वडाबाट बालिका जन्मको तथ्यांक आइसकेको गुर्भाकोटका नगरप्रमुख हस्त पुनले बताए ।


‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनेबित्तिकै पहिलो काम बालिकाको खाता खोल्ने हुनेछ,’ उनले भने, ‘वडाबाट पायक पर्ने बैंक, वित्तीय संस्था र सहकारीमा एक हजार जम्मा गरेर नगरपालिकाले खाता खोलिदिनेछ ।’ नगरपालिकाले खोलिदिएको खातामा अभिभावकलाई थप रकम जम्मा गर्न आग्रह गर्ने प्रमुख पुनले बताए । लैंगिक विभेद हटाउन कार्यक्रमले दीर्घकालीन सन्देश दिने उनको भनाइ छ ।


गुर्भाकोटमा छोराछोरी जन्मिए दुई बिरुवा रोप्नुपर्ने नियम पनि बनाइएको छ । करिब एक हजार ५ सय बिरुवा वितरण गरेको छ । ‘पर्यावरणमा सहयोग पुर्‍याउन कार्यक्रम सुरु गरिएको हो,’ नगरप्रमुख पुनले भने, ‘अभिभावकले दुई बिरुवा लैजानुपर्ने अनिवार्य नियम बनाइएको छ, तर आवश्यक परे बढी पनि वितरण गरेका छौं ।’ नगरपालिकाले सञ्चालन गरेको नर्सरीबाट गतवर्ष करिब १८ हजार बिरुवा वितरण गरिएको थियो । वातावरण संरक्षणमा बालबालिकाको दायित्व बढाउन कार्यक्रम प्रभावकारी हुने उनी बताउँछन् ।


दुवै नगरपालिकाले यसका लागि जन्मदर्ता हुनैपर्ने जनाएका छन् । अधिवक्ता दुर्गाप्रसाद सापकोटाले लैंगिक समानताका लागि यो कार्यक्रम प्रभावकारी हुने बताए । ‘यसले पुरुषप्रधान सोचाइ निरुत्साहित गर्न सहयोग पुर्‍याएको छ,’ उनले भने, ‘छोरी जन्मदा अभिभावकमा उत्साह ल्याउन कार्यक्रम प्रभावकारी भएको छ ।’

समाचार

गरिब परिचयपत्र फिर्ता

- कान्तिपुर संवाददाता

बागलुङ (कास)– काठेखोला–३ धम्जाकी हुमा बिकले गरिब परिचयपत्र फिर्ता गरेकी छन् । भारतीय सेनाका अवकास प्राप्त श्रीमानको पेन्सनले आफूलाई खान–लाउन पुगेको भन्दै फिर्ता गरेकी हुन् ।


आफूले नियमित पेन्सन पाएकाले खानै नपुग्नेलाई परिचयपत्र दिनुपर्ने भन्दै उनले फिर्ता गरेको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले बताए । घुम्तीटोलीले वितरण गरेकै स्थानमा आएर उनले परिचयपत्र फिर्ता गरेकी थिइन । काठेखोला–८ लेखानीका एक
पूर्वसैनिकले पनि परिचयपत्र फिर्ता दिएका छन् । वडा–६ बिहुँका एक किसानले पनि खेती गरेर खान पुगेको भन्दै फिर्ता दिएको गाउँपालिकाले जनाएको छ । स्वस्फूर्त फिर्ता गर्नेहरूले सूचक भर्दा त्रुटि भएको बताए ।


सातादेखि बागलुङका विभिन्न गाउँ तथा नगरपालिकामा गरिब परिचयपत्र वितरण भइरहेको छ । वितरणका क्रममा पेन्सन बुझ्ने र बहालवाला कर्मचारी समेत गरिबको सूचीमा परेपछि विरोध हुन थालेको छ । केहीले आफैंले थाहा नपाएको भन्दै फिर्ता गरेका छन् ।


‘राज्यले चाहेको बेला छानबिन गर्न सक्छ भन्ने सन्देश पाएर पनि केहीले फिर्ता गरेको पाइयो,’ अधिकृत विकले भने, ‘कतिपय पहिला दिएको सूचनाबाट आफैं लज्जित भएका छन् ।’ काठेखोलामा मात्र २ सय ५२ अति गरिब, २ सय ५२ मध्यम र २ सय २ जना सामान्य गरिब परिवारमा सूचीकृत भएका छन् ।


गाउँमा ऋण दिने, व्यवसायी, शिक्षक र पेन्सन पाइरहेकाहरू समेत यस्तो सूचीमा परेकोमा स्थानीयले आश्चर्य व्यक्त गरे । ‘कसरी यस्तो भयो, खोजी पनि गर्दै छौं,’ ताराखोलाका नरेश केसीले भने, ‘तथ्यांक संकलनकै समयमा केही गडबडी भएको हुन सक्छ ।’


कतिपयले खान पुग्दैन भनेर ढाँट्ने र सही सूचना दिएर के होला भन्ने भावना राखेको पाइएको उनले बताए । यसरी फरक तथ्यांक आएपछि ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा पनि विरोध भइरहेको छ । ‘धेरैजसोलाई वितरण भइसकेको छ । केहीमा समस्या पनि देखियो,’ ढोरपाटनका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भने, ‘मानवीय स्वभाव र त्रुटि भएकाले सच्याएर जान सकिन्छ ।’ जिल्लामा ११ हजार २ सय १ परिवारको नाम गरिब घरपरिवारको सूचीमा छ । जिससले परिचयपत्र पाउनेलाई नि:शुल्क स्वास्थ्य बिमा गराउने निर्णय समेत गरेको थियो ।

समाचार

नाता प्रमाणित ल्याउन साता

स्थानीय तहमा अंग्रेजी भाषामा कागजात बनाइदिने जनशक्ति छैनन्
सरकारी लेटरप्याड र लोगो साइबर क्याफेमा
- घनश्याम खड्का

म्याग्दी– स्थानीय तहमा सिफारिस र प्रमाणितजस्ता कागजपत्र अंग्रेजी भाषामा उल्था गर्ने जनशक्ति नहुँदा सेवाग्राहीले सास्ती पाएका छन् । यत्ति कामका लागि उनीहरू सदरमुकाम धाउन बाध्य छन् ।


छोरी सीमालाई विदेशी कलेजमा भर्ना गर्न अंग्रेजी भाषामा नाता प्रमाणित र आयस्रोत प्रमाणित कागजात आवश्यक भएपछि धौलागिरि गाउँपालिका–१ गुर्जाका दलमान छन्त्याल वडा कार्यालय पुगे । वडाबाट उनलाई भनियो– ‘अंग्रेजी भाषामा चाहिने भए आफैं बेहोरा मिलाएर कागजात ल्याउनू, हामी छाप लगाइदिन्छौं ।’


अर्को दिन उनी हिँडेर गाउँपालिकाको केन्द्र मुना पुगे । तेस्रो दिन कार्यालय खुल्नेबित्तिकै गाउँपालिका कार्यालय गए । त्यहाँ पनि अंग्रेजीमा प्रमाणित कागज बनेन । फेरि दिनभरि हिँडेर दरवाङ झरे । वर्षाले सडकमा पहिरो गएकाले गाडी चलेको थिएन । चौथो दिन सदरमुकाम बेनी झरे हुलाकचोकस्थित एक साइबर क्याफेमा छिरे । प्रतिपृष्ठ एक हजार शुल्क लिएर साइबर सञ्चालकले सरकारी कार्यालयको लोगोसहितको कागजात तयार पारिदिए । ‘घरबाट बेनी झरेर अंग्रेजी भाषामा सरकारी डकुमेन्ट बनाउन चार दिन लाग्यो । फर्कन ३ दिन,’ दलमानले भने, ‘एउटा नाता प्रमाणित र आयस्रोत प्रमाणित गराउन ७ दिन लाग्यो । गाडीभाडा, खाना, खाजा, होटलबास, साइबरलाई तिरेको रकमसमेत गरी १० हजार खर्च भयो ।’
अन्नपूर्ण गाउँपालिका–६ घारका सागर खडकालाई पनि अंग्रेजी भाषामा नाता प्रमाणित कागज बनाउन सदरमुकाम जाँदा र साइबरमा कागज बनाई गाउँ फर्केर वडाध्यक्षबाट प्रमाणित गराउँदासमेत चार दिन लाग्यो । ‘बाटो खर्च, साइवर खर्च र वडा कार्यालयमा बुझाएको दस्तुर समेत ६ हजार खर्च भयो,’ उनले भने ।


स्थानीय सरकारले सामान्य कागज पनि अंग्रेजीमा बनाउन नजान्दा दुर्गमका सेवाग्राहीले सास्ती त पाएकै छन्, सरकारी लेटरप्याड र लोगोको दुरुपयोग पनि भइरहेको छ । नाता, आयस्रोत प्रमाणित र वैदेशिक प्रयोजनका लागि आवश्यक सिफारिस अंग्रेजीमा उल्था गर्न सकेका छैनन् । गाउँमा ‘सिंहदरबार’ गए पनि सेवाग्राही सामान्य कागजपत्र बनाउन सदरमुकाम झर्नैपर्ने बाध्यता यथावत् छ ।


‘विदेशका लागि पारिवारिक नाता प्रमाणित र आयस्रोत प्रमाणित समेतका कागजात बनाउन आएको, बिजुली नआएकाले टाइम लाग्ने भयो,’ बेनीको एक साइबरमा भेटिएकी मालिका गाउँपालिका–५ की मीना बुढामगरले भनिन्, ‘अब त सबै सुविधा गाउँबाटै हुन्छ भन्थे, यति अंग्रेजीमा लेख्न पनि नजान्ने रहेछन् गाउँपालिकाका कर्मचारी ।


हामीले दु:ख पाइयो ।’ वर्षाले बाटो बिगारेका बेला आउजाउमा अप्ठ्यारो, जतासुकै पैसा तिर्नुपर्दा हैरान भएको उनले बताइन् । ‘गाउँमा सरकार आएको त कुरै मात्र हो जस्तो लाग्छ,’ उनले भनिन् ।


बेनी नगरपालिकाले समेत नेपाली भाषाको सरकारी कागजात अंग्रेजीमा उल्था गर्न बजारका साइबर क्याफेमा पठाउने गरेको छ । कम्प्युटरका साइबर सञ्चालकहरूले सरकारी कागजात र लोगो प्रयोग गरी डकुमेन्ट तयार पार्नु गैरकानुनी भए पनि स्थानीय सरकार र प्रशासनको मिलेमतोमै यो काम भइरहेको छ ।


‘हामीलाई अंग्रेजी भाषामा सिफारिस लेख्ने अख्तियारी छैन । अविश्वास गरिएकाले सेवाग्राहीले बनाई ल्याएको पत्रमा नै प्रमाणित गर्ने गरिएको हो,’ बेनी–८ का वडासचिव कृष्ण शर्माले भने, ‘जिल्लाभरबाट एउटा कागज बनाउन बेनीका साइबर आउनुपर्ने, भनेका बेला बिजुली हुन्न अनि प्रमाणित गर्न फर्केर फेरि गाउँमै पुग्नुपर्ने बाध्यताले सास्ती भएको छ ।’ कम्तीमा सबै स्थानीय तहका कार्यालयमा नेपाली भाषाका दस्ताबेजलाई अंग्रेजीमा उल्था गर्ने छुट्टै शाखा राख्न आवश्यक देखिएको उनले बताए ।

Page 15
खेलकुद

श्रेष्ठ राष्ट्रिय टोलीको सहायक प्रशिक्षक

- दीपक परियार

लेखनाथ– नेपाली फुटबल टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ नियुक्त भएका छन् । बंगलादेशमा आयोजना हुने साफ फुटबल च्याम्पियनसिपका लागि एन्फाले उनलाई बिहीबार सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । टिमको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन यसअघि नै नियुक्त भइसकेका छन् ।


पोखरामा फुटबलबाट आºनो खेलजीवन सुरु गरेका ४२ वर्षीय किरण यसअघि सहारा क्लबको स्थापनासँगै फुटबलमा उदाएका थिए । लिग तथा राष्ट्रिय प्रतियोगितामा ललितपुरको ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबबाट ०५७ देखि ०६१ सम्म खेलेका उनले उक्त टिमको कप्तानीसमेत सम्हालेका थिए । ‘ए’ डिभिजन क्लब बौद्ध, हिमालयन शेर्पा र सुदूरपश्चिम ११ को पनि उनले प्रशिक्षण सम्हालिसकेका छन् । उनी एसियाली फुटबल परिषद् (एएफसी) बाट ‘ए’ लेभल मान्यताप्राप्त प्रशिक्षक हुन् ।


उनी सहारा क्लब पोखराको टिम प्रशिक्षकका रूपमा लामो समयदेखि कार्यरत छन् । हाल एन्फा कास्कीमा रहेर स्वयंसेवी प्रशिक्षकका रूपमा ग्रासरुट फुटबलमा समेत उनले जिम्मेवारी सम्हालिरहेका छन् । कास्की एन्फाले सञ्चालन गरेको ग्रासरुटका विभिन्न कार्यक्रममा उनले प्रशिक्षण दिइरहेका छन् ।


पोखराबाटै खेलजीवन सुरु गरेका पूर्वराष्ट्रिय खेलाडी कृष्ण थापापछि यस क्षेत्रबाट किरणले नेपाली फुटबलमा फडको मारेका हुन् । राष्ट्रिय टोलीका पूर्वकप्तान थापा हाल एन्फाको उपाध्यक्षका रूपमा कार्यरत छन् । यसअघि पोखराका पूर्वराष्ट्रिय खेलाडी डम्बर गुरुङले राष्ट्रिय यू–१६ फुटबल टिमलाई प्रशिक्षण दिएका थिए ।


सहायक प्रशिक्षकमा नियुक्त भएकोमा श्रेष्ठले खुसी व्यक्त गरे । ‘एन्फाले मलाई विश्वास गरेर ठाउँ दियो,’ कान्तिपुरसँग उनले भने, ‘यति राम्रो मौकालाई खेर जान दिने छैन ।’ साफ फुटबल यही भदौ १९ देखि ३० सम्म बंगलादेशको ढाकामा हुँदैछ ।

खेलकुद

स्पेनिस फुटबलर असन्तुष्ट

- कान्तिपुर संवाददाता

म्याड्रिड (बीबीसी)– स्पेनी लिगमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीले शीर्ष श्रेणीको लिग संयुक्त राज्य अमेरिकामा खेलाउने योजना कार्यान्वयन भए हडतालमा उत्रन सक्ने संकेत दिएका छन् । ला लिगाले अमेरिकी मिडिया कम्पनीसँग १५ वर्षको सम्झौता गरेपछि बुधबार खेलाडीको उच्चस्तरीय बैठक बसेको थियो ।


रियल म्याड्रिडका कप्तान सर्जियो रामोस र बार्सिलोनाका उपकप्तान सर्जियो बुस्केट्ससहित अन्य क्लबका कप्तान सम्मिलित बैठकले लिगको निर्णयप्रति आपत्ति जनाएको छ । एएफईले खेलाडीसँग सल्लाह नगरी लिइएको यस निर्णय मान्य नहुने खेलाडीको बैठकले निष्कर्ष निकालेको छ ।


एएफई स्पेनका फुटबल खेलाडीको संस्था हो । बुधबार एएफईका अध्यक्ष डेविड अगान्जो खेलाडीहरूसँग बैठकमा थिए । बैठकमा रामोससँगै रियलका नाचो, बार्सिलोनाका बुस्केट्स र सर्जी रोबर्टो, इस्पनयोलका लिओ बाप्टिस्टा, भिल्लारियलका ब्रुनो तथा एटलेटिकोबाट कोके र जुआनफ्रान उपस्थित थिए ।


अध्यक्ष अगान्जोले हतारमा गरिएको निर्णयले लिगलाई समस्यामा पार्न सक्ने बताए । ‘यो निर्णय गम्भीर रूपमा नसोची लिइएको छ । यसले फुटबल र समर्थकभन्दा व्यापारलाई बढावा दिन्छ । हामी सम्पूर्ण क्लबलाई एकत्रित गरेर यसको विरुद्धमा उत्रनेछौं,’ उनले भने, ‘खेलाडीको सहमतिबिनै १५ वर्ष विदेशमा खेल्न सम्भव छैन । आशा छ यसबारे छिट्टै उचित निर्णय आउनेछ ।’ उनले खेलाडीहरूको सेप्टेम्बरमा फेरि बैठक बस्ने बताए ।


ला लिगाले भने सम्झौता पूरा भए पनि हालसम्म कुन खेल हुने, कुन स्थानमा हुने र कुन सिजनको खेल हुने भन्ने अझै टुंगो नलागेको बताएको छ । लिगाले बैठकबारे जानकारी पाएपछि छिट्टै एएफईसँग छलफल गरेर उचित निष्कर्ष निकाल्ने बताएको छ ।

खेलकुद

नङसलको मिश्रित नतिजा

- ध्रुव तुलाधर
नेपालका जेसिका गुरुङ र दीपेश धामी ब्याडमिन्टन मिक्स्ड डबल्समा हङकङविरुद्ध खेल्दै । तस्बिर : किरण पाण्डे

जकार्ता, इन्डोनेसिया– ब्याडमिन्टनमा नेपालले सात इभेन्टमा प्रतिस्पर्धा गर्दा दुई खेल जितेको छ । वुमेन्स सिंगल्समा नङसल तामाङले माल्दिभ्सकी अब्दुल रज्जाकलाई २१–१९, २१–१५ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेकी छन् । नेपालकी पहिलो वरीयताकी नङसलले अब अकाने यामागुचीसँग प्रतिस्पर्धा गर्नेछन् ।


मेन्स डबल्समा विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले सफलता पाएको थियो । उनीहरूले पहिलो खेल (राउन्ड अफ ३२) मा मंगोलियाका सुमियासुरेन र तेमुलेनलाई २१–१२, २१–१९ ले हराएर अगाडिको यात्रा तय गरे । मिक्स डबल्सको दुवै खेलमा नेपाली खेलाडी पराजित भए । नेपालका शीर्ष वरीयताप्राप्त रत्नजित र नङसल तामाङको जोडी आयोजक इन्डोनेसियाको जोडीसँग २१–१३, २१–७ ले पराजित भयो ।


अर्को खेलमा दीपेश धामी र जेसिका गुरुङको जोडीले हङकङका ली चुन र चाउ होईको जोडीसँग २१–११, २१–११ को सेटमा खेल गुमाएको थियो । वुमेन्स सिंगल्समै जेसिका भने थाई खेलाडी इन्तानोनसँग २१–७, २१–७ ले सहजै हारिन् ।


मेन्स डबल्समा रत्नजित र दीपेशको जोडीले कठिन प्रतिस्पर्धाका बावजुद पाकिस्तानका रिजवान अजाम र सुलेरी कसिफ अलीको जोडीलाई २१–१९, २०–२२ ले खेल सुम्पेका थिए । वुमेन्स डबल्समै नङसल र जेसिकाको जोडी थाइल्यान्डकी जोङकोल्फान र रिवान्डासँग २१–७, २१–५ ले पराजित भएको थियो ।


भारोत्तोलन
एसियाडको भारोत्तोलनमा नेपाली खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउने क्रमलाई विकास थापाले पनि निरन्तरता दिन सकेनन् । उनले पुरुष ७७ केजीमुनि तौलमा स्न्याचमा १ सय १३ केजी र क्लिन एन्ड जर्कमा १ सय ३५ केजीसहित कुल २ सय ४८ केजी तौल उठाए । यसअघि पनि विकासको व्यक्तिगत स्कोर त्यति नै थियो । स्न्याचमा १ सय १८ केजीका लागि प्रयास गर्दा दुवै लिफ्टमा असफल भए । समग्रमा उनी पाँचौं स्थानमा रहे । विकास १२ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता हुन् ।


यस तौल समूहमा कमलबहादुर अधिकारीको नाममा स्न्याचमा १ सय २२ र क्लिन एन्ड जर्कमा १ सय ६२ केजीको राष्ट्रिय कीर्तिमान छ । कमलले भने यसपल्ट तौल घटाएर ६९ केजीमुनि प्रतिस्पर्धा गरेका थिए ।

गल्फ
नेपाली गल्फरले जकार्तास्थित पोन्डोक इन्दाह गल्फ कोर्समा जारी गल्फको पहिलो दिन खराब सुरुआत गरेका छन् । नेपालबाट शुक्रबहादुर राई ९ ओभर ८१ स्कोरसहित समग्रमा ६४ औं स्थानमा छन् । टंकबहादुर कार्की १० ओभर ८२ तथा अजित विक ११ ओभर ८३ अंकसहित संयुक्त ६८ र ७१ औं स्थानमा छन् । पृथ्वी मल्ल १६ ओभर ८८ अंकसहित ८० औं स्थानमा छन् । ८६ गल्फरको सहभागिता रहेकोमा जापानका केइटा नाकाजिमा ४ अन्डर ६८ अंकसहित शीर्षस्थानमा छन् । पहिलो दिनको खेल सकिँदा ११ खेलाडीले मात्र अन्डर पार स्कोरमा खेलिरहेका छन् ।

 

बक्सिङको ‘ड्र’
एसियाड बक्सिङअन्तर्गत नेपाली महिला बक्सरद्वय पुनम रावल र संगीता सुनुवारले सीधै क्वाटरफाइनल खेल्ने भएका छन् । बिहीबार भएको ‘ड्र’ अनुसार महिला ६० केजीमुनिको तौल समूहमा पुनमले क्वाटरफाइनलमा चीनकी वेन्लु याङको सामना गर्नेछिन् । ५७ केजीमुनि संगीता थाइल्यान्डकी निलवान टिचासुइपसँग खेल्नेछिन् । दुवैले एक खेल जिते कम्तीमा कांस्यपदकको हकदार हुनेछन् । बक्सिङको खेल शुक्रबार सुरु हुनेछ ।


यसपालि बक्सिङमा नेपालले ८ खेलाडीलाई सहभागिता गराएको छ । महिला ५१ केजीमुनि विमला श्रेष्ठले बाई पाएकी छन् । उनले प्रिक्वाटरफाइनलमा मंगोलियाकी ओचिर्बात जार्गालनसँग प्रतिस्पर्धा गर्नेछिन् । पुरुष ५७ केजी तौल समूहमा दीपक श्रेष्ठ बाई पाएर प्रिक्वाटरफाइनल खेल्नेछन् । उनको भिडन्त चाइनिज ताइपेईका कान चियावेइसँग हुनेछ । ५२ केजी तौल समूहमा प्रेम चौधरीले फिलिपिन्सका रोजेन लादोनसँग प्रतिस्पर्धा गर्नेछन् । बाई पाएका उनले प्रिक्वाटरफाइनलमा खेल्नेछन् ।


पुरुष ६४ केजीमुनि नेपालका भूपेन्द्र थापाको पहिलो भिडन्त जोर्डनका ओबादा अल्कास्बेहसँग हुनेछ । ६९ केजी तौल समूहमा विष्णुप्रसाद घलेले कतारका थारुमलिङ्गमसँग प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । ४९ केजीमुनिको तौल समूहमा तेजबहादुर देउजाले लाओसका खेलाडी खाम्साथोनसँग प्रतिस्पर्धा गर्नेछन् ।

खेलकुद

न्यु समिट विजयी

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– न्यु समिट कलेजले प्रथम त्रिभुवन विश्वविद्यालय अन्तरकलेज बीएसी सीएसआईटी बास्केटबल प्रतियोगितामा जित दर्ता गरेको छ । बिहीबार उद्घाटन खेलमा न्यु समिटले सेन्ट लरेन्स कलेजलाई ६३–४५ ले हरायो । अन्य खेलमा सगरमाथा कलेज र टेक्सस् कलेज विजयी रहे । १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पाउनेछन् ।

खेलकुद

ग्रिनल्यान्ड सेमिफाइनलमा

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ग्रिनल्यान्ड स्कुल सातौं गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जुनियर र सिनियर छात्रतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । जुनियरतर्फ ग्रिनल्यान्ड, आयोजक गोल्डेनपिक, नवजीवन एकेडेमी र लालीगुराँसले सेमिफाइनलमा स्थान बनाए । सिनियरतर्फ ह्वीज किड्स, रिलायन्स, ग्रिनल्यान्ड र भ्याली पब्लिक सेमिफाइनल पुगे ।

खेलकुद

एलए टेनिस जारी

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ललितपुरमा जारी ११ औं एलए/जेटीआई अन्तरविद्यालय जुनियर खुला लनटेनिस प्रतियोगितामा बिहीबार यू–९ ब्वाइजमा दीपेश ज्ञवाली, शाश्वत वज्राचार्य, योगश ज्ञवाली, दर्शिल श्रेष्ठ, ओसाङ थापा, श्रीजन भट्टराई र हर्षित पन्त विजयी भएका छन् । गल्र्स यू–१० मा टीबीएसका प्रतिष्ठा लामाले शुभताराकी अर्निका थापालाई हराइन् । यू–१२ ब्वाइजमा राजीव शाहले जित दर्ता गर्दा गल्र्स यू–१२ तर्फ मर्सा महर्जन, जेनी खडका, सुधाश्री ढुंगाना, रोशनी लिम्बू, आइसा गुरुङ र निमिशा धाक्वा अर्को चरण प्रवेश गरे ।

 

Page 16
खेलकुद

१८ औं एसियाली खेलकुद: तेक्वान्दोको पदकविहीन ह्याट्रिक यात्रा

- ध्रुव तुलाधर
तेक्वान्दोको ६८ केजीमुनि तौल समूहमा नेपालका ज्ञानेन्द्र हमाल (रातो) मलेसियाका रोजाली रोजामीसँग भिड्दै । खेलमा रोजालीले ज्ञानेन्द्रलाई ३०–२ को फराकिलो अंकमा हराए ।तस्बिर : किरण पाण्डे

जकार्ता, इन्डोनेसिया– एसियाली खेलकुदमा लगातार तेस्रोपल्ट नेपाली तेक्वान्दो पदकविहीन भएर फर्कने भएको छ । १८ औं संस्करण जारी रहँदा बिहीबार दुई नेपाली खेलाडीको खेलसँगै तेक्वान्दोको इन्डोनेसिया यात्रा सकिएको छ ।


एसियाली खेलकुदमा गौरवशाली इतिहास बनाएको तेक्वान्दोका खेलाडीले पछिल्ला तीन संस्करणमा पदक जित्न सकेनन् । सन् २०१० को ग्वाङझाउ र २०१० को इन्चोन एसियाडबाट पनि रित्तो हात फर्केको थियो । एसियाडमा नेपाली तेक्वान्दोले एक रजत र १३ कांस्यपदक जितेको इतिहास छ ।


जकार्ता एसियाडको पाँचौं दिन सकिँदासम्म नेपाल पदकको छेउसम्म पुग्न सकेको छैन । पदक आस गरिएको उसु पनि पदकविहीन भएर फर्केको छ । एसियाडमा उसुले एउटै पदक जितेको छैन । नेपालले तेक्वान्दोका १४ र उसुका १० खेलाडीलाई एसियाडमा उतारेको थियो । १ सय ८५ खेलाडीको जम्बो टोली एसियाडमा उतारेको नेपालको आस अब जुडो, बक्सिङ र कुराँस खेलमा मात्र बाँकी छ ।


दक्षिण एसियाली राष्ट्र भारत र अफगानिस्तानले पदकको खाता खोलिसकेका छन् । अफगानले उसुबाट एक कांस्य जित्दा भारतले सुटिङ, कुस्ती, सेपाकटाक्रो, टेनिस र उसुबाट पदक भित्र्याएको छ । ४ स्वर्णसहित १६ पदक जितेको भारतले सुटिङबाट सबैभन्दा बढी ७ पदक जितेको छ । पदक तालिकामा चीन, जापान र दक्षिण कोरियाको प्रभुत्व हुँदा आयोजक इन्डोनेसिया ७ स्वर्ण जित्दै पाँचौं स्थानमा छ ।


बिहीबार तेक्वान्दोको ६८ केजीमुनि ज्ञानेन्द्र हमालले एउटा खेल जितेका थिए । अर्को खेलमा नराम्ररी पराजित हुन पुगे । अन्तिम १६ को पहिलो खेलमा ज्ञानेन्द्र भुटानका जिग्मे वाङचुकलाई ३९–१७ अंकले हराउँदै अन्तिम १६ मा पुगेका थिए । उनले पहिलो राउन्डमै भुटानीविरुद्ध चार ह्याम्मर किक हाने र १५–११ को अग्रता बनाए । पछिल्लो दुई राउन्डमा उनले विपक्षीलाई खासै मौका दिएनन् र खेल आफ्नो पक्षमा पारे । उनलाई क्वाटरफाइनल पुग्नका लागि भने मलेसियाका रोजाली रोजामी बाधक बने । साउथ इस्ट एसियन गेम्सका स्वर्ण तथा एसियन इन्डोर तथा मार्सल आर्टका रजत विजेता रोजालीले ज्ञानेन्द्रलाई ३०–२ को फराकिलो अंकमा हराए । आसियन च्याम्पियनसिपका बेस्ट फाइटर रोजालीले उचाइको फाइदा लिँदै तेस्रो राउन्डअगाडि नै खेल जितेका थिए ।


महिला ४९ केजीमुनि तौल समूहमा अस्मिता खड्का पनि इरानी प्रतिद्वन्द्वीसामु निरीह बनिन् । विश्व वरीयताको ३५ औं वरीयतामा रहेकी निहादले २८४ औं वरीयताकी खेलाडी अस्मितालाई पहिलो राउन्डमै ६ ह्याम्मर किक हानेर खेललाई आफ्नो पक्षमा पारिन् । निहाद एसियन च्याम्पियनसिपमा पदक जितिसकेकी खेलाडी हुन् भने अस्मिताको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।


प्रशिक्षक दीपक विष्टले बिहीबारको खेलबारे भने, ‘भुटानसँगको पहिलो खेलमा ज्ञानेन्द्रले जसरी खेलेका थिए, त्यसरी दोस्रो खेल खेल्न सकेनन् । पहिलोमा उनी थोरै घाइते थिए । त्यसले गर्दा पनि उनले खुलेर खेल्न सकेनन् । मलेसियाली प्रतिद्वन्द्वी अन्तर्राष्ट्रिय अनुभवी र पदकविजेता खेलाडी हुन् । उनले उचाइको एडभान्टेज लिए ।’
नेपालले पदक आस गरेका तेक्वान्दो र उसु दुवैको प्रतिस्पर्धा सकिएको छ । दुवै खेल पदकविहीन बने ।


पौडी
राष्ट्रिय कीर्तिमानधारी शिरीष गुरुङले पनि जारी एसियाडमा आफ्नो एउटै कीर्तिमान सुधार्न सकेनन् । बिहीबार पुरुष १०० फ्रिस्टाइल प्रतिस्पर्धा गरेका उनले ५७.९२ सेकेन्डमा दूरी पार गरे । जबकि उनी रियो ओलम्पिकमा आफैंले बनाएको कीर्तिमान सुधार्न असफल रहे । उनले सन् २०१६ मा रियो द जेनेरियोको पोखरीमा ५७.७६ सेकेन्डको कीर्तिमान बनाएका थिए ।
आफ्नो हिटमा पुछारमा रहेका शिरीष समग्रमा ४७ खेलाडीमध्ये ४० औं स्थानमा थिए । शिरीषले दुई दिनअघि २० मिटर फ्रिस्टाइलमा पनि गतिलो प्रदर्शन गर्न सकेनन् । इन्चोन एसियाडमा समेत सहभागिता जनाएका शिरीषको यहाँ इभेन्ट सकिएको छ ।


अर्की पौडीवाज टिसा शाक्यले महिला ५० मिटर ब्रेस्टस्ट्रोकको दूरी ३९.४६ सेकेन्डमा पार गरिन् । १०० मिटर फ्रिस्टाइलमा आफ्नो प्रदर्शन सुधारेकी टिसाले शुक्रबार ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।


हिट चरणमा ३० खेलाडीले प्रतिस्पर्धा गर्दा उनी २६ औं स्थानमा थिइन् । ३२.३४ सेकेन्डमा दूरी पार गर्ने फाइनल चरणलाई छानिएका थिए ।


कबड्डी
नेपाली टोली बिहीबार पाकिस्तानसँग ३८–२० अंकले पराजित भयो । समूह ‘बी’ मा पाँच टोली रहेकोमा नेपालले एक खेलमात्र जित्यो । नेपालले अघिल्लो दिन मलेसियालाई हराएको थियो । नेपाल आयोजक इन्डोनेसिया, जापान र इरानसँग पराजित भयो ।


सबै टोलीसँग प्रतिस्पर्धात्मक खेलेको नेपाली कबड्डी २४ वर्षपछि एसियाड खेल्न जकार्ता आइपुगेको थियो । नेपालले यसअघि दुई एसियाडमा कबड्डीलाई सहभागी गराएको थियो । सन् १९९० को बेइजिङमा चौथो र १९९४ को हिरोसिमा एसियाडमा पाँचौं स्थानमा रहँदै फर्केको थियो ।
यसपल्ट पनि वरीयता सुधार्ने लक्ष्यमा मात्र नेपाली टोली जकार्ता आएको थियो ।


पेनकेक सिलात
पेनकेकमा प्रतिस्पर्धी रहेका एक्लो नेपाली खेलाडी विवेककुमार विक पनि पहिलो खेलमै पराजित भए । बिहीबार अन्तिम १६ को ६० देखि ६५ केजीबीच तौल समूहमा प्रतिस्पर्धा गरेका विवेककुमारले इरानका मोहम्मद रहिमिबल्लाहदेजाइसँग हार बेहोरे । उनी ५–० अंकले पराजित भए । पेनकेक इन्डोनेसियाको परम्परागत मार्सल आर्टस हो । यसमा पनि पञ्च, किकबाट अंक लिइन्छ । एसियाली खेलकुदमा पनि यसले पहिलोपल्ट प्रवेश पाएको थियो ।


आर्चरी
जीबीके आर्चरी फिल्डमा बिहीबार तीन नेपाली खेलाडीले रिकर्भको एकल इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फ तिलक पुन मगरले पहिलो खेलमा भुटानका निमा वाङीलाई हराएर राम्रो सुरुआत गरे । तिलकले ६–० स्कोरले खेल जितेका थिए । अन्तिम १६ को खेलमा उनी चीनका तियान्सु जुसँग ६–४ को अन्तरमा हारे ।
त्यस्तै रोशन नगरकोटी श्रीलंकन खेलाडी सञ्जीव डी सिल्भासँग ६–० को स्कोरमा पराजित भए ।


महिला रिकर्भको अन्तिम ३२ को खेलमा नेपालकी ज्ञानु अवाले हङकङकी सुक चिङ लामसँग ६–२ ले हारिन् ।
नेपालले शनिबार पुरुष रिकर्भ टिममा कतारसँग खेल्नेछ । नेपाली टोलीमा तिलक, असिम शेरचन र रोशन नगरकोटी छन् ।
आर्चरीका प्रशिक्षक रमेश सिवाकोटीले चिनियाँ खेलाडीसँग तिलकले त्यत्तिको खेल्नु राम्रो भए पनि ज्ञानु र रोशनले भने बिगारेको बताए ।


पाराग्लाइडिङ
पुरुष व्यक्तिगत एकुरेसीमा आयोजक राष्ट्रका जाफ्रो मेगावान्टाले स्वर्ण जित्दा नेपालका विजय गौतमले आठौं स्थानमा रहेर खेल टुंग्याए । ३३ खेलाडीले प्रतिस्पर्धा गर्दा नेपालका सुशील गुरुङ २४ औं स्थानमा रहे । यो १० राउन्डसम्म चलेको थियो ।


सोही इभेन्टको महिलातर्फ नेपालका त्रिशा श्रेष्ठ बोम्जन १४ र प्रतिभा भुजेल १५ औं स्थानमा रहन सफल भए । यसमा आयोजकको स्वर्ण जित्ने आसलाई असफल पार्दै थाई खेलाडी नुनापातले स्वर्ण जितिन् । दक्षिण कोरियाकी ली दाले रजत जित्दा आयोजककी रिकाको पोल्टमा कांस्यपदक परेको थियो ।


स्क्वास
नेपाली खेलाडीद्वय अरहान्तकेशर सिंह र अमृत थापामगर दुवै पहिलो खेलमै पराजित भए । बिहीबार जीबीकेको स्क्वास स्टेडियममा पुरुष एकलको अन्तिम १६ खेलमा अरहान्त पाकिस्तानका तैयव अस्लामसँग ११–६, ११–५, ११–५ ले हारे । पाकिस्तानीले सोझो सेटमा ३–० ले खेल जित्दा १८ मिनेटमात्र लगाए ।
अर्को खेलमा अमृत भने हङकङका हो यिन लीसँग ११–१, ११–४, ११–२ ले पराजित भए । उनीहरूले डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।


स्पोर्ट्स क्लाइम्बिङ
मेन्स स्पिड क्लालिफिकेसन राउन्डमा प्रतिस्पर्धा गरेका पेम्बा शेर्पा र प्रनिलमान श्रेष्ठ पुछारको दुई स्थानमा रहे । २७ खेलाडीको सहभागितामा १६ खेलाडी दोस्रो चरणलाई छानिए । पेम्बाले १२.०० सेकेन्ड र प्रनिलले १२.२६ सेकेन्डमा चढेका थिए ।


क्वाइन्ड क्वालिफिकेसनमा प्रनिल २१ र पेम्बा २२ औं स्थानमा रहेका थिए ।

Page 17
हेल्लो शुक्रवार

रोजिताको अर्को पाटो

महिला पत्रकारको समूहमा यसैपालि सगरमाथा आरोहण गरेको दलकी सदस्य हुन्, रोजिता बुद्धाचार्य । सफल आरोहणसँगै उनको खुबै चर्चा भयो । तर, उनको अध्ययन र लगनको क्षेत्र भने फरक छ ।
कोडिङ नमिल्दा खगोल विज्ञानका लागि अयोग्य भए भनेर रोएँ । प्रसिद्ध वैज्ञानिक आन्द्रेले सम्झाएपछि विवेक पुर्‍याएर गरेको तीन घण्टामै काम पूरा गरें । आन्द्रे ट्वाँ पर्नुभयो ।
- प्रदीप मेन्याङ्बो

पछिल्लो सिजन सगरमाथामा पाइला टेकेयता रोजिता बुद्धाचार्य चर्चामा आइन् । विश्वकै सर्वोच्च शिखरको सफल आरोहण मात्रै उनको चर्चाको विषय होइन । उनी एफएम, रेडियोमा कार्यक्रम प्रस्तोता, रंगकर्मी पनि हुन् । उनको अध्ययनको विषय भने फरक छ । अमृत साइन्स क्याम्पसबाट भौतिकशास्त्रमा स्नातकोत्तर गरेकी उनी आकाशगंगा (ग्यालेक्सी) भित्रको ताराहरूको अध्ययन गर्छिन् । सधैं भीडभाड हुने असननिरकै बाङ्गेमुढामा जन्मेकी २५ वर्षीया उनको रुचि खगोल भौतिकशास्त्र हो र यसैअन्तर्गत आकाशगंगाभित्रका ताराहरूको अध्ययन गर्छिन् ।


उनले ओरायन तारामण्डलको एउटा तारा विटलज्यूजको आयु सकिँदै जाँदा देखिने प्रकाशको परिवर्तनबारे अमेरिकाको स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटबाट अध्ययन गरिन् । पोल्यान्डको निकोलस कोपर्निकस एस्ट्रोनोमिक सेन्टर अफ पोलिस एकेडेमी अफ साइन्सेजबाट आकाशगंगा आईसी १४८१ को गति र यसको फैलावट, इटालीको भ्याटिकन अब्जर्भेटरीबाट सिग्नस तारामण्डलको ब्लाक होल सिग्नस एक्स ३ को प्रणाली, मिल्की वे भित्र रहेको एम ४ तारापुञ्जको उमेर र सौर्यमण्डलबीचको दूरी पनि मापन गरिन् ।


‘म अढाई वर्षको हुँदा आमा बित्नुभयो । तर उहाँको अनुहार याद छैन । आमाको एउटा फोटो छ तर त्यसमा आमाको अनुहार भाइको हातले छेकिएको छ,’ आफ्नो रुचिबारे उनले भनिन्, ‘त्यसैले आमा कस्ती हुनुहुन्थ्यो भन्ने मनमा सधंै कौतुहलता जाग्थ्यो । आमाको अनुहार मैले प्रस्ट नदेखेकाले नै मेरो मनमा खगोल र अन्तरिक्ष सपना आएको हो ।’ उनी हजुरबासँग हुर्किइन् । उनले धेरैपल्ट हजुरबालाई आमाको अनुहारबारे सोधेकी थिइन् । ‘एक दिन हजुरबाले पूर्णिमाको बेला चन्द्रमालाई देखाएर आमाको अनुहार हेर्नका लागि त्यहाँ (चन्द्रमा) जानुपर्ने भन्नुभयो । त्यसपछि चन्द्रमामा पुग्न एउटा घरबाट अर्को घर हुँदै अग्ला–अग्ला पहाड पुग्ने र ती पहाडबाट झन् अग्ला हिमाल पुग्ने अनि आमालाई भेट्न चन्द्रमामा सिधै जम्प गर्ने सपना देख्न थालें,’ उनले बताइन् । सगरमाथाको चुचुरोमा पुग्दा उनलाई नदेखेको आमाको अनुहार देखेजस्तो लागेको थियो ।


अलि बढ्दै जाँदा उनलाई चन्द्रमामा पुग्नका लागि विज्ञान पढ्नुपर्ने रहेछ भन्ने लाग्यो । त्यसका लागि खगोलशास्त्रको अध्ययन र अन्तरिक्षयात्री बन्नुपर्ने आवश्यकता बुझिन् । स्कुलमा वक्तृत्वकला, निबन्ध लेखन, वादविवाद प्रतियोगिता, हाजिरी जवाफमा नियमित सफलता पाएकी उनी ५ कक्षामा छँदै बाल पत्रकार भएकी थिइन्, भित्ते पत्रिका निकालेकी थिइन् । रेडियो नाटक बनाइन् । एसएलसी सकेर आरजे, भीजे भइन् । तर, विज्ञान पढ्ने भएपछि ती गतिविधि बन्द भयो । १२ कक्षापछि एफएममा न्ह्यस: लिस: कासा (प्रश्नोत्तर खेल), गुड मर्निङ काठमाडौं, अफिस आवर, हार्ट विट, सटर्डे फनलगायत कार्यक्रमको प्रस्तोता भइन् । समाचार वाचन पनि गरिन् ।


कक्षा १२ मा राम्रो गरेपछि उनलाई चिकित्सा वा इन्जिनियरिङ पढ्न सुझाइएको थियो । तर, उनले भौतिकशास्त्र रोजिन् । बीपी कोइराला स्मृति प्लानेटेरियम, अब्जर्भेटरी र विज्ञान संग्रहालय विकास समितिले ०६७ सालमा स्कुल अन एस्ट्रोनोमी, एस्ट्रोफिजिक्स एन्ड स्पेस साइन्समा १० दिने कार्यक्रम आयोजना गरेको थियो । स्नातक दोस्रो वर्षमा छँदै उनी त्यसमा सहभागी भइन् । उनले खोजेको र चाहेको विषय त्यही थियो । ‘मैले त्यही कार्यक्रममा पहिलो पटक टेलिस्कोपबाट चन्द्रमा, शनि र बृहस्पतिलाई नियाल्ने मौका पाएँ । र, मेरो अध्ययनको विषय पनि मोडियो । पत्रकारिता विज्ञानमा, अध्ययन भौतिक खगोलशास्त्रमा र काम बीपी कोइराला मेमोरियल प्लानेटेरियम अब्जर्भेटरी र विज्ञान संग्रहालयमा थालें ।’

 

भ्याटिकन यात्रा
उनले भ्याटिकन अब्जर्भेटरी, इटालीमा ब्राजिल, कोलम्बिया र अमेरिकी चार साथीको समूहमा मिलेर सौर्यमण्डलभन्दा लाखौं प्रकाश वर्ष टाढाको एम ४ तारापुञ्ज र सौर्यमण्डलबीचको दूरीको मापन गरेकी हुन् । उनीहरूले प्राध्यापक ज्यूजपे बोनोको निगरानीमा काम गरेका थिए । सगरमाथा आरोहणपछि काठमाडौं फर्केको भोलिपल्टै भ्याटिकन पुगेर उनी जुन २ देखि जुलाई २ सम्म १८ मुलुकका २४ युवा वैज्ञानिक सम्मेलनमा सहभागी भएकी थिइन् । उनीहरूले ग्यालेक्सीमा चम्किरहेका ताराहरूको जन्म, युवा अवस्था, वृद्धा अवस्था, मृत्यु हुने प्रक्रियाबारे अध्ययन, विश्लेषण गरेका थिए । रोजिताको समूहलाई अन्तरिक्षमा रहेको एम ४ तारापुञ्जको उमेर मापन गर्न लगाइएको थियो । उनीहरूको समूहले निकालेको तारापुञ्जको उमेर लगभग १२ अर्ब २० करोड वर्षलाई जर्नलमा राख्न योग्य भन्दै वैज्ञानिकहरूले तारिफ गरेका थिए ।


अन्तरिक्षमा नासा र इसालगायतले संयुक्त रूपमा स्थापित गरेको हवल स्पेस टेलिस्कोप सर्भिस मिसनका अन्तरिक्ष यात्री तथा एस्ट्रोफिजिक्सको प्राध्यापक क्लाउडी निकोलायरको अनुभव सुन्ने मौका उनले पाएकी थिइन् । त्यस अवसरमा उनले आफ्नो सगरमाथा यात्रा, शेर्पा, देश, बुद्ध र गोर्खा सिपाहीबारे पनि बताएकी थिइन् । उनले भ्याटिकनमा युरोपियन साउदर्न अब्जर्भेटरीका खगोल वैज्ञानिकहरू प्राध्यापक मरिना, फर्नान्डो, चिलिका दान्ते मिनिती, अमेरिकाबाट प्राध्यापक दाना, भ्याटिकन अब्जर्भेटरी, जापान, स्पेन, रोमका वैज्ञानिकहरूबाट खगोल विद्यासम्बन्धी धेरै ज्ञान सिक्ने अवसर पाएको बताइन् ।


फिजिक्समा स्नातकोत्तर गर्दा उनले सोधपत्र ओरायन तारामण्डलमा पर्ने विटलज्यूज ताराको अध्ययन गरिन् । प्राध्यापक डा. उदयराज खनाल, सहप्राध्यापक प्रेम ढुंगेल र वेधशाला व्यवस्थापक सरोजराज शाहीको निगरानीमा विटलज्यूज तारालाई नगरकोटको वेधशालाबाट टेलिस्कोपमार्फत फोटो खिचेर टेलिस्कोपसम्म आउने प्रकाशको तथ्यांक एक वर्ष लगाएर संकलन गरेकी थिइन् । पुन: पुष्टि पनि गरिन् ।


उनले ब्रह्माण्डमा ग्रहको संख्याबारे पनि अनुसन्धान गरिन् । खगोलशास्त्रको पहिलो अनुसन्धानबाट प्रभावित भएर उनलाई काठमाडौं एस्ट्रोफिजिक्स स्कुलमा सहभागी मेलबोर्नका खगोलविद् मिकेला ट्रेन्टी, डा. केन केनयन, जर्मन डा. नोरा लुत्जेन्डर्फ, पोल्यान्डका प्रा. आन्द्रे जियास्र्कीले ‘डिनर’ को निमन्त्रणा दिएका थिए । उनीहरूले कुराकानीपछि रोजितालाई आफ्नो ज्ञान र क्षमता खेर नफाल्न सुझाएका थिए । उनलाई सगरमाथा आरोहणमा पनि ती वैज्ञानिकहरूले सहयोग गरे ।

 

त्यो आँसु
पोल्यान्डको राजधानी वार्सामा सन् २०१७ को अगस्त–सेप्टेम्बरमा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदा रोजिताले लाखौं प्रकाश वर्ष टाढाको तारा मण्डलको ब्ल्याकहोल सिग्नस एक्स ३ को प्रणालीको अध्ययन गरिन् । उनलाई लाइट कर्भको विश्लेषण गर्नका लागि प्राध्यापक आन्द्रे जियास्र्की र उपप्राध्यापक बार्बराले गाइड गरेका थिए ।
‘प्रसिद्ध वैज्ञानिक आन्द्रेले तुरुन्त आउ भनेपछि म वार्सा पुगेकी थिए । त्यसबेलासम्म हिसाब मात्रै गर्नुपर्ने सोचेकी थिएँ तर त्यो विद्यावारिधिले गर्ने शोधार्थी थियो,’ रोजिताले भनिन्, ‘कम्तीमा तीन दिन लाग्ने भन्दै मलाई एउटा प्रोजेक्ट दिए । नसके अर्को प्रोजेक्ट गर्न पनि सुझाए । मैले त्यही आँटें । तर, कोडिङ नमिल्दा खगोल विज्ञानका लागि अयोग्य भए भनेर रोए ।’ आन्द्रेले सम्झाएपछि उनी फेरि त्यो प्रोजेक्टमा लागिन् । ‘विवेक पुर्‍याएर गरेको तीन घण्टामै काम पूरा गरें,’ उनले भनिन्, ‘आन्द्रे ट्वाँ पर्नुभयो । अनि मलाई लाग्यो हिसाब मिलेन । रिसाएर तुरुन्तै नेपाल फर्काउने डर लाग्यो । तर, उहाँले धाप मारेर स्याबासी दिनुभयो । एकदमै खुसी लाग्यो ।’ उनलाई वैज्ञानिक र पीएचडी शोधार्थीको सम्मेलनमा आन्द्रेले त्यहाँ ‘प्रोमिनेन्ट साइन्टिस्ट’ भनेर चिनाएका थिए । अर्थात् नामको होइन, कामको वैज्ञानिक ।

 

नासाको कार्ड
अमेरिकाको बाल्टीमोरमा सन २०१७ को जुनदेखि अगस्टसम्म स्पेश टेलिस्कोप साइन्स इन्स्टिच्युटले आयोजना गरेको स्पेस एस्ट्रोनोमी समर प्रोगाममा विश्वका ५ सय बढीले आवेदन दिएका थिए । त्यसबाट छनोटमा भएका १३ जनमा उनी परिन् ।


‘यो संस्थामा काम गर्ने खगोल वैज्ञानिक मात्रै आठ सय रहेछन् । नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) को लागि काम गर्ने स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटले हवल स्पेस टेलिस्कोपको तथ्यांक संग्रह गर्ने रहेछ । हवलको सेकेन्ड जेनेरेसन जेम्स वेब स्पेस टेलिस्कोपको अप्रेसन सेन्टरका रूपमा यो विकसित भएको छ । सन् २०२० मा यो टेलिस्कोप प्रक्षेपण हुँदैछ । टेलिस्कोप र तथ्यांक संग्रहबारे प्रत्यक्ष हेर्ने, सिक्ने मौका पाएँ ।’ उनले बाल्टीमोरमा भएको विज्ञान मेलामा नासाको टिसर्ट, आईडी कार्ड लगाएर स्पेस टेलिस्कोप साइन्सका तर्फबाट सर्वसाधारणले सोधेको जिज्ञासा मेट्न पाउँदा खुसी लागेको बताइन् ।


नेपालको विज्ञान प्रविधिको अवस्था सम्झिएर गाह्रो मान्ने उनको आफ्नै योजना छ, ‘एस्ट्रोफिजिक्समा पीएचडी गर्ने । अवसर पाए अन्तरिक्ष यात्री, वैज्ञानिक बन्ने धोको पनि छ । पहिले मंगल ग्रहप्रति चासो राखेकी उनी त्योभन्दा परको तारामण्डलको अनुसन्धान गर्न चाहन्छिन् । उनी अब सगरमाथाभन्दा माथिको उडान भर्न चाहन्छिन् ।

[email protected]

Page 18
हेल्लो शुक्रवार

नयाँ आशा

- कान्तिपुर संवाददाता
रायन सेसेग्नन

रुसमा भएको विश्वकपमा ठूला टिमका खेलाडी अझै पूर्ण रुपमा फिट नभएका कारण इंग्लिस प्रिमियर लिगको सुरूमा केही युवा खेलाडीले मैदानमा खेल्ने अवसर पाएका छन् । स्थानान्तरण अवधिमा राम्रो खेलाडी ल्याउन नसकेपछि क्लबहरुले युवा खेलाडीलाई उपयोग गरिरहेका छन् । केही युवा खेलाडी भने यस्ता छन् जसले कम उमेरमै आफ्नो कौशलको पहिाले रोजाइमा स्थान स्थान पाएका छन् । यस सिजन (२०१८–१९) मा प्रिमियर लिगमा प्रभाव जमाउन सक्ने पाँच युवा खेलाडी :

 

रायन सेसेग्नन, फुलहम
करिअरको सुरुआतमा लेफ्ट ब्याकको भूमिका निर्वाह गरेका सेसेग्ननले गत सिजन आक्रामक भूमिकामा फुलहमका लागि निर्णायक भूमिका खेले । क्लबलाई शीर्ष श्रेणीमा बढुवा गराउँदा सर्वाधिक गोलकर्ता बनेका उनले १८ वर्षको उमेरमा क्लबका लागि १ सय खेल खेलिसकेका छन् । फुलहम बढुवा नभएको अवस्थामा प्रिमियर लिगका ठूला क्लबले उनलाई ल्याउने प्रयास गरेको थियो । विश्वकपमा इंग्लिस टोलीको प्रारम्भिक छनोटमा परेका उनलाई छिट्टै राष्ट्रिय टोलीको नियमित खेलाडीको भूमिकामा देख्न पाइने विश्लेषकहरूले बताएका छन् । सिजनको सुरुआती दुई खेलमा उनले आफ्नो स्तर सिद्ध पारेका छन् ।

फिल फोडेन, म्यानचेस्टर सिटी
गत वर्ष इंग्ल्यान्डले फिफा अन्डर–१७ विश्वकप जित्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित फोडेनले म्यानचेस्टर सिटीको सिनियर टोलीबाट खेल्ने मौका पाए । उनले केही खेल त पहिलो रोजाइमा पनि खेले । यसपटक प्रिसिजनमा पनि उनलाई प्रशिक्षक पेप ग्वार्डिओलाले प्राथमिकतामा राख्दै खेल्ने समय दिएका थिए । सिजनको पहिलो खेल कम्युनिटी सिल्डमा सर्जियो अगुएरोले गोल गर्दा फोडेनले असिस्ट दिएका थिए । सिटीले केभिन डे ब्रुएनलाई चोटका कारण सिजनको सुरुआती ३ महिना गुमाउने भएसँगै १८ वर्षीय फोडेन फोडेनले खेल समय पाउने सम्भावना पनि बढेको छ । उनले पाएको अवसर सदुपयोग गर्न सके ग्वार्डिओलाले उनको करिअर विकासमा सहयोग पुर्‍याउने छन् ।

लुकास टोरेर आर्सनल
विश्वकपमा उरुग्वेको मिडफिल्डमा जमेका टोरेरालाई भित्र्याउन आर्सनलका नवनियुक्त प्रशिक्षक उनाई एमेरीले मोटो रकम खर्चनुपर्‍यो । २२ वर्षीय टोरेरा विपक्षीको आक्रमण रोक्नका साथै पोसेसन राख्न अब्बल मानिन्छन् । पछिल्लो केही सिजनयता कमजोर रहँदै आएको मिडफिल्डलाई टोरेराको आगमनले केही हदसम्म मजबुत बनाउनेछ । रक्षात्मक रणनीतिका लागि अब्बल मानिने इटालियन लिगमा गत सिजन टोरेराले साम्पडोरियाका लागि उच्च प्रदर्शन गरेका थिए । छोटो समयमै राष्ट्रिय टोलीमा पहिलो रोजाइका खेलाडी बनेका उनले आर्सनलमा पनि सोही किसिमको प्रदर्शन गर्ने अपेक्षा रहेको छ । आर्सनलको युरोप फर्कने लक्ष्य प्राप्तिमा उनको भूमिका महत्त्वपूर्ण रहनेछ ।

रिचार्लीसन, एभरटन
पछिल्लो सिजन वाटफर्डले मार्को सिल्भालाई बर्खास्त गर्दा लयमा देखिएका रिचार्लीसनको प्रदर्शनमा पनि ह्रास आयो । सिल्भाले आफ्नो योजनाअनुसार खेल्न सक्ने भएकै कारण ब्राजिलियन विंगरलाई भित्र्याउन कीर्तिमानी रकम खर्चिए । प्रिसिजनमा आफ्नो लय देखाएका रिचार्लीसनले सिजनको सुरुआती २ खेलमा तीन गोल गर्दै आफ्नो प्रभाव जमाएका छन् । प्रिमियर लिग आउनुअघि खासै नाम नचलेको भए पनि पछिल्लो सिजन उनले राम्रो प्रदर्शन गरेका थिए । एभरटनले मोटो रकम खर्चेर अन्य स्तरीय खेलाडी पनि भित्र्याएको छ । २१ वर्षीय रिचार्लीसनले लयलाई कायमै राखे एभरटनले युरोपमा स्थान बनाउन ठूला टोलीलाई बलियो चुनौती पेस गर्नेछ ।

रुबेन नेभेस, उल्भ्स
गत सिजन नेभेस इंग्लिस फुटबलको दोस्रो श्रेणीको क्लब वल्भ्समा जाँदा उनलाई पछ्याएका युरोपका ठूला टोली आश्चर्यचकित परेका थिए । उनले वल्भ्सलाई माथिल्लो श्रेणीमा बढुवा गराउने क्रममा ६ गोल गरे । ती सबै गोल पेनाल्टी क्षेत्र बाहिरबाट सम्भव भएका थिए । प्रिमियर लिगको पहिलो खेलमा पनि उनले दर्शनीय फ्रिकिक गोल गर्दै आफ्नो परिचय दिएका थिए । २१ वर्षीय नेभेस विश्वकपका लागि पोर्चुगल राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा परे पनि अन्तिम टोलीमा भने अटाउन सकेनन् । यसपटक वल्भ्सले पोर्चुगल राष्ट्रिय टोलीकै सिनियर खेलाडीलाई क्लबमा अनुबन्धन गर्दै लिगको माथिल्लो स्थानमा पुग्ने संकेत दिएको छ । नेभेसले पनि विश्वको शीर्ष लिगमा आफूलाई सिद्ध पार्ने अवसर पाएका छन् ।

हेल्लो शुक्रवार

कलाकार जन्माउने शृंखला

- हेलो शुक्रबार

देशको लामो फिल्म शृंखलाका रूपमा मात्र होइन, ‘नाई नभन्नू ल’ कलाकार जन्माउने शृंखलाका रूपमा पनि परिचित छ । पाँचौं भागसम्म आइपुग्दा यसले हरेक साल कोही न कोही कलाकार जन्माउँदै आएको छ ।


फिल्म लेखनमा सक्रिय रहँदारहँदै फिल्म ‘नसिब आफ्नो’ बाट निर्देशनमा डेब्यु गरेका विकासराज आचार्य फिल्म ‘नाई नभन्नू ल’ बाट दर्शकमाझ चिनिए । त्यसयता उनले ‘रिदम’ र ‘म तिम्रो भइसकें’ पनि निर्देशन गरे तर बाँकी फिल्मभन्दा आचार्य ‘नाई नभन्नू ल’ को निर्देशकका रूपमा बढी चिनिन्छन् । संयोग नै मान्नुपर्छ, नेपाली फिल्ममा पछिल्लो समयमा रुचाइएका बालकलाकार, नायक–नायिका, गायक विकासकै हिट सिक्वेल ‘नाई नभन्नू ल’ कै उत्पादन हुन् । आचार्य कलाकारलाई डेब्यु दिनेमा अग्रपंक्तिमा पर्छन् ।


आफ्ना हरेक फिल्मबाट कसै न कसैलाई मौका दिँदै आएका आचार्यले ‘नाई नभन्नू ल’ बाट नायिका ऋचा सिंह ठकुरीलाई ब्रेक दिएका थिए । गीतका कारण पनि चर्चामा रहेको उक्त फिल्मबाट ऋचाले लोभलाग्दो चर्चा पाएकी थिइन् । तर ‘म तिम्रो भइसकें’ पछि ऋचा आचार्य क्याम्पमा दोहोरिनन् । आचार्य क्याम्पबाट बाहिरिएपछि ऋचाले त्यो चर्चा पनि कायम राख्न सकिनन् । बिहे गरेर सेटल भएकी ऋचाले हालै ‘सुपर गोर्खे’ निर्माण गरेकी छन् ।


धेरै कलाकारलाई डेब्यु गराउनेमा ‘नाई नभन्नू ल २’ अग्रपंक्तिमा आउँछन् । यो फिल्मबाट अहिले चल्तीकी नायिका वर्षा सिवाकोटीले डेब्यु गरेकी थिइन् भने यही फिल्मबाट बालकलाकारका रूपमा सुज्ञानी भट्टराईले दर्शकको मन जितेकी थिइन् । यही फिल्मबाट प्रेम परियारले पाश्र्व गायनमा डेब्यु गरेका थिए । ‘रिदम’ बाट डेब्यु गरे पनि अनुभव रेग्मी यही फिल्मबाट बालकलाकारका रूपमा चिनिएका थिए ।


‘नाई नभन्नू ल’ को हरेक सिक्वेलमा अटाएका अनुभवले यो फिल्मबाट सफलता पाए पनि विकासको फिल्म बाहिर भने उनले ‘ए मेरो हजुर २’ बाट मात्र सफलताको स्वाद चाख्न पाए । तर सँगै आएकी सुज्ञानीले भने फिल्मी करिअरलाई निरन्तरता दिन सकिनन् । यही फिल्मबाट पाश्र्व गायनमा डेब्यु गरेका प्रेम परियारले फिल्ममा गाएको ‘मर्ने कसैलाई रहर हुँदैन’ र ‘यी आँखामा तिमी छौं’ बाट चिनिए । तर त्यसपछि भोकल कर्ड अचानक परिवर्तन भएपछि परियार हाल अध्ययनमा मात्र केन्द्रित छन् । फिल्मको तेस्रो सिक्वेलबाट बालकलाकार सफला भट्टराईले डेब्यु गरे पनि यो फिल्मपछि उनी अन्य फिल्ममा देखिएकी छैनन् ।


आचार्यको ‘नाई नभन्नू ल ४’ बाट डेब्यु गरेका वर्षा राउत, पल शाह र आँचल शर्मा फिल्मी अभिनयमा चाहिँ भाग्यमानी कलाकारका रूपमा चिनिए । म्युजिक भिडियोको मोडलिङमा हटकेक मानिएका पलले यो फिल्मबाट चर्चा पनि राम्रै पाए । यही फिल्ममार्फत नायिका आँचल शर्मासँग चिनजान गरेका पल र आँचलको जोडी अहिले चर्चामा आइरहन्छ । यो फिल्मपछि पलले ‘म यस्तो गीत गाउँछु’ मा अभिनय गरे जुन फिल्म बक्स अफिसमा हिट साबित भयो । यो फिल्म पछि आँचलसँग जोडी बनेर अभिनय गरेको फिल्म ‘जोनी जेन्टलमेन’ व्यावसायिक रूपमा असफल बन्यो । यो फिल्मपछि उनीहरू अभिनीत पछिल्लो फिल्म ‘शत्रु गते’ भने सुपरहिट भएको थियो । त्यसयता यो जोडी सँगै पर्दामा आएको छैन र दुवैले
सँगै नयाँ फिल्म गर्न लागेको पनि खबर छैन ।


‘नाई नभन्नू ल’ मै राम्रो अभिनय गरेकी वर्षा राउत धेरैको रोजाइकी नायिका हुन् । गाउँले होस् वा सहरिया दुवैखाले भूमिकामा वर्षा सुहाउँदी छिन् । उनले अभिनय गरेका ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’, ‘जात्रा’ ले व्यावसायिक सफलता पाएपछि वर्षाले आफूलाई पहिलो दर्जाकी नायिकाका रूपमा अग्रपंक्तिमा उभ्याएकी छन् । ठूला–ठूला ब्यानरका फिल्ममा वर्षाले स्थान पाउँदै आएकी छन् ।


नयाँ कलाकार जन्माउने क्रमलाई निरन्तरता दिँदै आचार्यले पाँचौं शृंखलामा पनि तीन नयाँ अनुहारलाई भाग्य चम्काउने अवसर दिएका छन् । यही फिल्मबाट अभिषेक नेपालले डेब्यु गर्दैछन् भने यही फिल्ममा अनुभवको जोडीका रूपमा भित्रिएकी सेड्रिना शर्माले स्टारडमको बाटो समातिसकेकी छन् । फिल्म सार्वजनिक नहुँदै सेड्रिनालाई मन पराउने जमात् ठूलो छ । बीबीएका विद्यार्थी अभिषेकले फिल्ममा स्वस्तिमा खड्काको जोडी भएर अभिनय गर्दैछन् । कान्तिपुर फिल्म एकेडेमीमा पढिरहँदा निर्देशक विकास आचार्यको नजरमा परेका अभिषेकले अभिनयसँगै फिल्मका लागि आवश्यक अन्य कुराको पनि प्रशिक्षण लिएका छन् ।


त्यस्तै, पाँचौं शृंखलाबाट गायिकाका रूपमा समीक्षा अधिकारीले मौका पाएकी छन् । पोखरा छेउको एक स्कुलमा नाई नभन्नू ल कै गीत गाइरहेको अवस्थामा छायांकार पुरुषोत्तम प्रधान र मुख्य सहायक निर्देशक सुदीप कुँवरले देखेपछि दुवैले समीक्षालाई गीत गाउन लगाएर फेसबुकमा राखिदिएका थिए । फेसबुकमै समीक्षाको आवाज सुनेपछि संगीतकार वसन्त सापकोटा र विकास आचार्यले समीक्षाले पाँचौं शृंखलामा गीत गाउने अवसर दिएका थिए । उनले गाएको ‘बालापनको उमेर’ छोटो समयमै १८ लाख बढीले हेरिसकेका छन् ।

[email protected]

Page 19
हेल्लो शुक्रवार

अनि रोबोट बिग्रियो...

- कान्तिपुर संवाददाता

मेक्सिकोमा अगस्ट १५ देखि १८ सम्म भएको अन्तर्राष्ट्रिय रोबोटिक्स ओलम्पिक २०१८ मा नेपालबाट ‘रोबोनट्स’ सहभागी भएको थियो । एक सय ६० देशका युवा इन्जिनियरको समूह सहभागी यसमा नेपाली टिम १ सय १५ औं स्थानमा रह्यो । रोबोनट्स समूहको मेक्सिको यात्रामा भिसा प्रक्रियाबाटै समस्या सुरू भएको थियो । ओलम्पिक यात्राबारे रोबोनट्सका सदस्य साजन श्रेष्ठको अनुभव :

ट्रिनिटी कलेजमा प्लस टु पढ्दादेखि नै विभिन्न रोबोटिक्स प्रतियोगितामा सहभागी हुन्थे । म विशेषत: रोबोटको लागि प्रोग्रामिङ गर्छु र डिजाइनमा पनि रुचि छ । मेरा साथी पृथ्वी चौधरी भने रोबोटको डिजाइनमा केन्द्रित छन् । उनी हामीलाई विभिन्न प्रतियोगितामा सहभागी हुन हौसला दिइरहन्छन् ।


गत वर्ष भएको यन्त्र ६.० पनि हामी म्यानुअल अखडातर्फ दोस्रो भएका थियौं । रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) ले आयोजना गरेको उक्त प्रतियोगितामा सहभागी भएको कारण हामीले मेक्सिकोमा आयोजित रोबोटिक्स ओलम्पिकमा भाग लिने अवसर पाएका थियौं ।


रोबोटिक्स ओलम्पिकमा भाग लिन १८ वर्षसम्मको उमेर सीमा तोकिएको थियो । यन्त्रमा हाम्रो प्रदर्शन र रोबोटिक्सप्रति हाम्रो लगाव देखेर हाम्रो टिम रोबोनट्सलाई र्‍यानले रोबोटिक्स ओलम्पिकका लागि छनोट गरेको थियो । ओलम्पिकको लागि हामीले तीन महिना अघिदेखि नै तयारी गरेका थियौं । प्रतियोगितामा सहभागी हुनका लागि हामीलाई आयोजक फस्ट ग्लोबलले छात्रवृत्ति दिएको थियो ।


हामीले अगस्ट १५ देखि १८ सम्म सञ्चालित प्रतियोगितामा सहभागी हुन मेक्सिको जानका लागि भिसा प्रक्रियाबाटै दु:ख पाएका थियौं । मेक्सिकोको दूतावास नेपालमा छैन । त्यसैले नयाँदिल्ली जानुपर्‍यो । हामीले क्यानडाको ट्रान्जिट भिसा लगाएर क्यानडा हुँदै मेक्सिको जाने सोच बनायौं र सोहीअनुसारको तयारी गर्‍यौं । तर, क्यानडाले ट्रान्जिट भिसा दिन अस्वीकार गरिदियो ।


अमेरिकाको भिसा भएपछि मेक्सिको जान सकिने भएकाले पुन: अमेरिकाको भिसा प्रक्रिया सुरु गर्‍यौं । हाम्रो समूहमा मेन्टर विनोद कणेलसहित पाँच सदस्य थियौं । म र मेरा साथी शिशिर विकको अमेरिकाको स्टुडेन्ट भिसा पहिल्यै थियो । तर, अरूलाई अमेरिकाले पनि भिसा दिएन । हामीले दिल्ली पुगेर मेक्सिकोको भिसा लगाउने सोच बनायौं । तर, हामीले भिसाको प्रक्रिया सुरु गर्ने मिति पाएनौं । परराष्ट्र मन्त्रालयको सहयोगमा मिति लिने प्रयास गरे पनि सफल भएनौं ।


टिमका अरू साथीको भिसा नलागेपछि म र शिशिर मात्रै अमेरिका हुँदै मेक्सिको पुग्यौं । हामीले प्रतियोगितामा प्रतिस्पर्धा गर्न रोबोट साथी पृथ्वीले नियन्त्रण गर्ने गरी तयार पारेका थियौं । तर, पृथ्वी र अरू साथीहरू नहुँदा म र शिशिरले मात्रै सबै काम गर्नुपर्ने बाध्यता आइपर्‍यो । प्रतियोगितामा सहभागी हुन तीन–तीन टिमको समूह बनाउनुपर्ने थियो । हामीले सुरुका दुई गेममा राम्रो गर्‍यौं । इरिट्रिया र डोमिनिकाको टिमसँग समूह बनाएर पहिलो गेम खेल्दा हामी र्‍यांकिङको दोस्रोमा रह्यौं । कंगो, लेसोथो र उत्तरी अमेरिकाको टिमको समूहविरुद्ध हामीले राम्रो खेल्यौं ।


दोस्रो खेलमा टिम अर्जेन्टिना र टिम नर्वेसँग मिलेर प्रतिस्पर्धा गर्‍यौं । मोरक्को, फ्रान्स र अंगोलोको टिमको समूहविरुद्ध हामीले राम्रो खेल्यौं । दोस्रो खेलपछि नेपालको र्‍यांकिङ पहिलो स्थानमा थियो । तेस्रो खेलपछि हाम्रो वरीयता १५ औं स्थानमा पुग्यो । तर, चौथो खेलमा भने हाम्रो रोबोटको मोटरमा समस्या देखा पर्‍यो । पृथ्वीले कन्ट्रोल गर्ने गरी बनाइएको रोबोट उनी नहुँदा चलाएका थियौं । धेरै ठोक्किएर हो कि किन हो मोटरमा समस्या देखियो ।


रिमोट कन्ट्रोल रोबोट गेम भइरहँदा हामीले रोबोटलाई छुन नपाउने नियम थियो । रोबोटको मोटर फेरेपछि फेरि छैटौं गेममा प्रतिस्पर्धा गर्दागर्दै रोबोटको सिग्नलले काम गर्न छाड्यो । त्यसलाई समाधान गरेर खेलेपछि सातौं र आठौं गेममा अंक जोड्का थियौं तर सोचेजस्तो नतिजा आएन । ओलम्पिकमा १ सय ६० देशको टिम सहभागी थिए । हामी त्यसमा १ सय १५ औं स्थानमा रह्यौं । टिमका सबै सदस्य (मेन्टर विनोद कँडेल, पृथ्वी चौधरी र सार्थक ढुंगाना) ले पनि मेक्सिको यात्रा गर्न पाएको भए नतिजा राम्रो हुन सक्थ्यो । हामी रोबोट बनाउन र प्रतियोगितामा कसरी कन्ट्रोल गर्नेमा मात्रै केन्द्रित भयौं । टिमको समूह बनाउँदा पनि ध्यान दिनुपर्ने रहेछ ।
(श्रेष्ठ अमेरिकाको जुजियाना स्टेट युनिभर्सिटीमा अध्ययनरत छन् ।)

हेल्लो शुक्रवार

सम्पदा, साइकल र पर्यटन

२०७२ सालको महाभूकम्पले ध्वस्त भएको काष्ठमण्डप, बुङमती र खोकनाको पुनर्निर्माणमा हातेमालो गर्दै यी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा प्रचार गर्न साइकल यात्रा चलिरहेको छ ।
- दामोदर न्यौपाने

 

काष्ठमण्डप, बुङमती र खोकना । यी सम्पदा चार वर्षयता साइकलयात्रीहरूको गन्तव्य बन्दै आएको छ । काष्ठमण्डप सातौं शताब्दीमा बनेको सत्तल । खोकना र बुङमती उपत्यकाकै प्राचीन बस्ती । यी सम्पदा भुइँचालोले क्षतिग्रस्त बनाए ।


काष्ठमण्डप ध्वस्त नै भयो । खोकना र बुङमतीका अधिकांश घर ढले । भत्किएका सम्पदा बनाउने अभियानमा हातेमालो गर्न साइकलप्रेमी युवाले २०७२ सालको गाईजात्रादेखि सुरु गरेको हो सम्पदा यात्रा । ‘काष्ठमण्डप, बुङमती र खोकनाको पुनर्निर्माणमा हातेमालो गर्दै यी क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा प्रचार गराउन यो अभियान चलाएका हौं,’ अभियानकर्ता कन्सेप्ट नेपालका अध्यक्ष पवन शाक्यले भने । यी सम्पदामा सहयोग गर्न प्रत्येक साइकलयात्रीसँग पाँच सय रुपैयाँ लिने गरिएको छ ।


यो वर्ष आयोजना गरिएको र्‍यालीमा दुई सय जना साइकल राइडर सहभागी भएका थिए । काष्ठमण्डपबाट सुरु भएको साइकल यात्रामा ६० वर्षका वृद्धदेखि युवायुवतीसम्म सहभागी थिए । विदेशी पर्यटक पनि साइकल चलाइरहेका देखिन्थे । तीस वर्षयता साइकल यात्रा गरिरहेका सोनाम गुरुङले अगुवाइ गरे । साइकल यात्रा काष्ठमण्डप हुँदै परोपकार पुल, कालीमाटी, रविभवन, कुलेश्वर, बल्खु, बस्नेत गाउँ, चोभार, शैवु भन्ज्याङ, कार्की गाउँ, चुइगाउँ, टौदह, चाल्नाखेल, लामागाउँ, बुङमती हुँदै खोकना पुगेको थियो । यी ठाउँ फेरो लगाउँदा झन्डै २० किलोमिटर भइसकेको थियो ।


खोकनाको प्रसिद्ध मन्दिर हो रुद्रायणी । यात्रीलाई स्वागत गर्न यही मन्दिरको डबलीमा जम्मा भएका थिए खोकनावासी । बाँसुरी, मादल, सारंगी जस्ता बाजासहित जम्मा भएका थिए युवाको समूह । उनीहरूले रुद्रायणी नाचमा बजाइने धुन निकालेर मनोरञ्जन दिलाए । आश्विन शुक्ल तृतीया र कात्तिक पूर्णिमामा देखाइने खोकनाको यो नाच प्रसिद्ध छ । तान्त्रिक विधिअनुसार देखाइन्छ रुद्रायणी । १६ जना नर्तकसहित ४६ जना कलाकार सक्रिय हुने यो नाच महिलाले हेर्न नहुने मान्यता छ । लिच्छविकालीन रुद्रायणी मन्दिरलाई पनि भूकम्पले जीर्ण बनाएको छ । मन्दिरको जीर्णाेद्धार सुरु भएको छैन ।


साइकल चलाएर साहसी पर्यटनलाई प्रोत्साहन गरिएको भन्दै ६० वर्षीय सोनाम गुरुङ र विश्व साइकल यात्री पुस्कर शाहलाई खोकना पुन:स्थापन समितिले सम्मान पनि गर्‍यो । साइकल यात्राले आफ्नो शरीरको रक्षा गर्ने गुरुङले बताए । ‘म साठी वर्ष नाघें,’ उनले सुनाए, ‘तीस वर्ष भयो साइकल चढेको । कहीं जानुपर्दा गाडी चढेको छैन । मोटर साइकल चढेको छैन । केही रोग लागेको छैन । यसको कारण साइक्लिङ नै हो ।’


प्राचीन नेवार बस्ती खोकना जावलाखेलबाट ५ किमि दक्षिण पूर्वमा पर्छ । खोकना तेल उत्पादनका लागि पनि ख्याति प्राप्त स्थान हो । कोलमा तोरी राखेर तेल पेल्ने गरिन्छ । तोरी पेल्ने व्यवसायका लागि सहकारी बनेका छन् । तर, प्राचीन प्रविधि लोप भइरहेका छन् । यहाँ घरका वास्तुकला पनि मौलिक छन् । माटोले बनेका घर एकअर्कामा जोडिएका छन् । रुद्रायणी मन्दिर, गुम्बा, कार्यविनायक जस्ता सम्पदाले धनी यो क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयास भइरहेको थियो ।


विश्व सम्पदा सूचीमै राख्न प्रयास भइरहेको अर्काे प्राचीन बस्ती हो बुङमती । खोकनासँगै जोडिएको यो बस्तीमा रातो मत्स्येन्द्रनाथको मन्दिर, चुनदेवी, कालभैरव, छप्पीदेवीजस्ता मन्दिर छन् । यहाँ ६ महिनासम्म रातो मत्येन्द्रनाथको मूर्ति राखिन्छ । प्राचीन कला र संस्कृतिले सम्पन्न यो बस्ती खुला संग्रहालय हो । विश्व सम्पदा सूचीमा राख्ने प्रयासमा २०७२ को भूकम्प बाधक बन्यो । त्यसयता खोकना बुङमतीको पर्यटन विकासमा साइकल अभियानले साथ दिएकामा स्थानीयवासी दंग छन् ।


ललितपुर महानगरपालिका वडा नं. २१ का अध्यक्ष रवीन्द्र महर्जनले खोकनाको मौलिक बस्तीको विकास गर्न कार्यक्रम ल्याउन लागेको जानकारी दिए । ‘हामी अब होमस्टे सुरु गर्छांै । लोकल गाइड उत्पादन गर्छाैं,’ अध्यक्ष महर्जनले भने, ‘अहिले साइकल चढेर खोकना आउनेको संख्या बढ्दै छ । अब पर्यटकको ध्यान यता तान्छौं । यहाँको ऐतिहासिक र सांस्कृतिक पक्षको प्रचार गर्नेछौं । यसले इतिहास, संस्कृतिको अध्ययन थलोका रूपमा बुङमती खोकना विकास हुनेछ ।’

[email protected]

हेल्लो शुक्रवार

सुरक्षित स्काइप

हेलो टेक
- कान्तिपुर संवाददाता

स्काइपले आफ्नो एपलाई सुरक्षित बनाउन इन्ड टु इन्ड इन्स्कि्रप्सन फिचर सुरु गरेको छ । स्काइपको आईओएस, एन्ड्रोइड, डेस्कटपसहित सबै एपमा यो सुविधा उपलब्ध हुनेछ । स्काइपको पछिल्लो अपडेटमा प्रयोगकर्ताले यो फिचर पाउन सक्नेछन् ।


जुन व्यक्तिसँग कल वा म्यासेज गर्ने हो उक्त व्यक्तिको प्रोफाइलमा गई कम्पोज म्यासेजमा स्टार्ट न्यु कन्भर्सेसन अप्सन छानेर प्रयोगकर्ताले प्राइभेट च्याट र कल गर्न सक्छन् । तर, एक डिभाइसमा एक पटकमा एक जनासँग मात्रै यस्तो च्याट गर्न सकिन्छ ।


स्काइपबाहेक अन्य म्यासेजिङ एपहरूले इन्ड टु इन्ड इन्स्कि्रप्सन फिचर यसअघि नै सुरु गरिसकेका छन् । एक डिभाइसबाट अर्को डिभाइसमा पुग्ने म्यासेज तथा कुराकानी बीचमा सुन्न नसकिने भएकाले यो फिचर सुरक्षित मानिन्छ ।

हेल्लो शुक्रवार

अनडु फिचर मोबाइलमा पनि

हेलो टेक
- कान्तिपुर संवाददाता

जिमेलमा अनडु फिचरले धेरैलाई गल्ती सच्याउने अवसर दिन्छ । कुनै इमेल पठाएपछि कुनै गल्ती भएको थाहा तत्कालै त्यसलाई अनडु गरी गल्ती सच्याएर पठाउन सकिन्छ । जिमेल वेबमा मात्रै उपलब्ध यो सुविधा अब मोबाइलमा पनि पाइनेछ ।


जिमेलले आफ्नो एन्ड्रोइड मोबाइल एप जिमेलमा यो फिचर सुरु गर्न लागेको छ । प्रयोगकर्ताले जिमेलको आधिकारिक एप जिमेलको ८.७ भर्सनमा यो सुविधा उपलब्ध हुनेछ । जिमेलले अनडु फिचर सन् २०१५ देखि सुरु गरेको थियो । जिमेलकै इनबक्स एपमा भने यो फिचर पहिलेदेखि नै उपलब्ध छ ।

हेल्लो शुक्रवार

पट्याउन मिल्ने फोन चाँडै

हेलो टेक
- कान्तिपुर संवाददाता

पट्याउन मिल्ने खालको फोन बजारमा आउने चर्चा अहिलेदेखिको होइन, धेरै वर्षदेखि यसको योजना र तयारीको विषयले चर्चा पाइरहेको छ । सामसुङले भने पट्याउन मिल्ने फोन चाँडै प्रयोगकर्ताको हातमा पुर्‍याउने घोषणा गरेको छ ।


सामसुङका प्रमुख कार्यकारी अधिकृत डीजे कोले कम्पनीले चाँडै फोल्डेबल फोनलाई प्रयोगकर्ताको हातमा पुर्‍याउने घोषणा गरेका हुन् । सामसुङले लामो समयदेखि फोल्डेबल फोनको योजना बनाइरहेको छ । रिपोर्टअनुसार उसले ग्यालेक्सी एफ नाम दिएर फोल्डेबल फोनको योजनामा काम गरिरहेको छ । कम्पनीले सन् २०१६ मै यस्तो फोन सार्वजनिक गर्ने भनेको थियो । सम्भवत: आगामी वर्ष सामसुङको फोल्डेबल फोन आउन सक्ने रिपोर्टहरूमा जनाइएको छ ।


सामसुङबाहेक एप्पल, हुवावे र एलजीजस्ता कम्पनीले पनि यस्तो खालको फोनको योजना बनाइरहेका छन् । एप्पलले भने फोल्डेबल फोनका लागि आफ्नो नाममा पेटेन्टसमेत दर्ता गरिसकेको छ ।

Page 20
हेल्लो शुक्रवार

पंक प्रिन्सेसको पुनरागमन

क्यानडियन गायिका एभ्रिल लभिनले झन्डै पाँच वर्षपछि नयाँ एल्बम ल्याउन लागेकी छन् । तर, यसपटक उनी पुरानो ‘गर्लफ्रेन्ड...’ गीतजस्तो विद्रोही, ग्रन्ज–पप शैलीमा देखिनेवाली छैनन् ।
- हेलो शुक्रबार

एभ्रिल लभिन । सुरुमा त यो नामै ‘कम्प्लिकेटेड’ मानियो । कसैले लेभिगन भने, कोही लेभिग्ने, कोही लेभाग्नी भन्थे । शुद्ध उच्चारणको कुरा थियो, विस्तारै सबैले सिके पनि । तर, एभ्रिलको जीवन ‘कम्लिकेटेड’ बन्न छोडेन । उनी सधैं हल्लामा छाइन् । धेरै पटक झूटो मृत्युको समाचार फैलियो ।


उनले गाउन छोड्यो कि मृत्यु भएको बताइन्थ्यो । हुँदा–हुँदा नयाँ भिडियो बाहिरिँदासमेत त्यो असली एभ्रिल नभएर उनकै उस्तै अनुहारले गाएको भनियो । सक्कलीलाई नै नक्कली एभ्रिल भन्दै हल्ला फिँजाइयो । उनको ‘मृत्यु’ का कारण अनेक मानिए । एचआईभी एड्सदेखि अन्य जटिल रोगले निधन भएको बताइयो । तर, उनी सधैं सकुशल थिइन् ।


झूटलाई सयौं पटक दोहोर्‍याए सत्य बन्छ भनेझैं भयो एभ्रिलको जीवनमा । सन् २०१५ मा उनलाई साँच्चै रोग लाग्यो । किर्नोबाट सर्ने लाइम रोगका कारण उनी दुई वर्षयता पर्दापछाडि रहिन् । ज्वरो आउने, जीउमा रातो धब्बा देखिने, थकान जस्ता समस्या झेलिन् । सरुवा रोग नभए पनि उनी सार्वजनिक स्थलमा आइनन् ।


बेलाबखत ट्वीटरमार्फत आफ्ना प्रशंसकलाई भेट दिने गरेकी थिइन् । यो साता भने ‘सरप्राइज’ दिइन् । नयाँ म्युजिक भिडियो ल्याउन लागेको खबर सार्वजनिक गरेपछि एभ्रिलका पंक–पप प्रशंसक खुसी नहुने कुरा थिएन । झन्डै पाँच वर्षपछि उनको स्वर गुन्जिन लागेको छ । तर, यसपटक उनी पुरानो ‘गर्लफ्रेन्ड...’ गीतजस्तो विद्रोही, ग्रन्ज–पप शैलीमा देखिनेवाली छैनन् ।


यी क्यानडेली पंक प्रिन्सेसले आफूलाई पहिलो पटक भावप्रधान गीतमा उतार्दैछिन् । सेप्टेम्बरमा निकाल्ने भनिएको छैटौं स्टुडियो एल्बम पियानो–प्रमुख हुनेछ । यसमा पियानोको धुनलाई बढी समावेश गर्न लागिएको बताइन्छ । ‘म आफ्ना गीतमा वास्तविकता र इमानदारी प्रस्तुत गर्न खोज्छु,’ उनले अमेरिकाको ई–न्युजसँग भनेकी छन्, ‘पछिल्लो दुई वर्षमा धेरैथोकबाट गुज्रिएँ, पाठ सिकेकी छु । यो एल्बम अवश्य फरक हुनेछ ।’


एभ्रिलको सांगीतिक सुरुवात दमदार थियो । सन् २००२ मा निकालेको पहिलो म्युजिक भिडियो (‘कम्प्लिकेटेड...’) नै विश्वव्यापी चर्चित बन्यो । कसले गाएन होला यो गीत ? कुन युवा प्रभावित भएन होला उनको शैलीबाट ? गाउने तरिका, लवाइ, ठाँट, स्वर, भिडियो सबै ट्रेन्डसेटर बने । यसलाई पछ्याउने कति निस्किए, निस्किए ।


नेपालमा पनि एभ्रिलको प्रभाव प्रत्यक्ष देखिएको थियो । सहरिया युवायुवती लवाइ र लुक्समा उनको नक्कल गर्थे । ब्यागी प्यान्ट, कालो ब्रासलेट, स्ट्रेट कपाल केटीहरूले अपनाए । स्केटिङ र गितार केटाहरूको रोजाइ बन्यो । सुबु थापा जस्ता गायिकाले नेपाली भर्सनको ‘कम्प्लिकेटेड..’ नै निकाल्न भ्याए । उता, सत्र वर्षीया एभ्रिल अवार्डहरू जित्दै थिइन् ।
ग्रामीमा दुइटामा विधामा मनोनीत भएकी थिइन् । एमटीभी म्युजिक भिडियो अवार्ड हात पारिन् । सन् २००९ मा द रोलिङ स्टोन म्यागजिनले ‘कम्प्लिकेटेड...’ लाई दशककै दस ‘टप सिंगल’ मध्ये एक मान्यो । त्यो बेला प्रचलित टिन–डिस्को गीतहरूबाट आजित युवा श्रोतालाई एभ्रिल नयाँ शैलीका रूपमा उदाएकी थिइन् । भिडियोमा देखिने उनको सन्की स्वाङ धेरैले प्रिय माने ।


लभिन दम्पतीकी माइली छोरी एभ्रिल सानैदेखि गाउँथिन् । चर्चमा गाउँदै हुर्किएकी हुन् । धर्ममा जोडिएकाले गीतमा त्यसको प्रतिबिम्ब आउने उनको भनाइ छ । ‘मेरा मूल नीतिहरूमा धार्मिक परिवारको प्रभाव छ,’ ३३ वर्षीया एभ्रिल भन्छिन्, ‘मेरी आमाले शब्द चयनमा ध्यान दिन सिकाउनुभयो । राम्रै सुनिए पनि म कतिपय शब्द प्रयोग गर्दिनँ । अपशब्द राख्न मनले मान्दैन ।’

[email protected]

हेल्लो शुक्रवार

ब्लाइन्ड रक्स

- कान्तिपुर संवाददाता

आँखाको दृष्टि गुमाएर जीवनलाई नयाँ तरिकाले बुझ्ने अवसर पाएको अनुभव भइरहेको छ ।
जीवनको सपना देख्ने उमेरमै आँखा गुमाइन् । चिकित्सकको गल्तीले संसारलाई हेर्नबाट वञ्चित भए पनि आफ्नो हौसलालाई भने मर्न दिइनन् । अहिले यिनै सृष्टि केसी दृष्टिविहीन युवायुवतीहरूको प्रेरणा बनेकी छिन् । उनी देश–विदेश पुगेर एउटै सन्देश दिने गर्छिन्– ब्लाइन्ड रक्स ।


काठमाडौंकी सृष्टि केसीले आफ्नो आँखा चिलाउने भएपछि चिकित्सकको सल्लाहमा औषधि प्रयोग गरेकी थिइन् तर औषधि लामो समय प्रयोग गरेपछि उनले १६ वर्षको उमेरमै आँखाको ज्योति गुमाउन पुगिन् । उनले त्यतिबेला आँखाको ज्योति मात्र गुमाइनन् कि टिनएजमा एक सामान्य सुन्दर युवतीले खुला आँखाले हेर्ने सपनासमेत गुमाइन् । ‘केही दिनअघिसम्म आँखा देखिरहेको एक युवतीले आँखा गुमाउँदा कस्तो महसुस हुन्छ तपाईं आफंै कल्पना गर्न सक्नुहुन्छ,’ एक कार्यक्रममा अस्ट्रेलिया आइपुगेकी उनले भनिन् । तैपनि उनी दृष्टिविहीनहरूले सामान्यसरहभन्दा जीवनमा धेरै रमाइलो गर्न सकिन्छ भन्ने अभियान चलाइरहेकी छन् ।


अचानक आँखाको ज्योति गुमाएपछि केही समय हतास र निराश भए पनि उनले आफ्नो मनस्थितिलाई परिवर्तन गरिनन् । बरु आफूलाई अर्कै माध्यमबाट संसार नियाल्ने मौका आएको निक्र्याेलमा पुगिन् । ‘वास्तवमा कुनै पनि परिस्थितिबिना हामी दौडन नसक्ने रहेछौं,’ उनी भन्छिन्, ‘मलाई त आँखाको दृष्टि गुमाएर जीवनलाई नयाँ तरिकाले बुझ्ने अवसर पाएको अनुभव भइरहेको छ ।’


उनले सबैभन्दा धेरै सुन्नुपरेको शब्द हो– विचरा । उनी सोध्ने गर्छिन्, ‘आँखा गुमेर कुनै व्यक्ति अन्धो हुनेबित्तिकै विचरा हुन्छ र ?’ उनको अनुभवमा शारीरिक रूपले पूर्ण सक्षम नभएकालाई यो संसारले त्योभन्दा धेरै अपांग बनाइदिन्छ । ‘समाजको सोच नै परिवर्तन हुन आवश्यक छ किनकि आँखा नदेख्दैमा कोही बेसहारा, विचरा हँुदैनन् भन्ने बुझ्न जरुरी छ,’ उनले भनिन्, ‘समाजले नकारात्मक प्रतिक्रिया गर्न छाडेर उनीहरू पनि सामान्य व्यक्तिसरह नै संघर्ष गर्न, जीवन बिताउन सक्छन् भनेर बुझिदिनुपर्‍यो ।’


उनले दृष्टिविहीन भएपछि विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा बीस वटा देशको यात्रा गरिसकेको बताइन् । उनले दृष्टिविहीनहरूलाई ऊर्जा दिन संस्था नै बनाएकी छिन्– ब्लाइन्ड रक्स । यस संस्थाले चार वर्षयता दृष्टिविहीनका लागि विभिन्न किसिमका तालिम र उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय युवा पुरस्कारलगायत थुप्रै अवार्ड उनले हात पारेकी छन् । नेपालमा क्षमतावान दृष्टिविहीनहरू भएर पनि उनीहरूलाई विश्वास नगरेर समाजले अगाडि बढ्ने अवसर नदिएको उनको ठहर छ । उनले देश–विदेशको अनुभवलाई नेपालका दृष्टिविहीनहरूलाई आत्मविश्वासी बन्न सहयोग गरिरहेकी छन् ।


‘म आँखा मात्र देख्न नसक्ने हो, मलाई पनि अरूलाई जस्तै महसुस हुन्छ । नजिक हुन मन लाग्छ । माया गर्न मन लाग्छ,’ सृष्टिले प्रेमप्रति आफ्नो धारणा राखिन्, ‘अहिले माया–प्रेमभन्दा पनि दृष्टिविहीनहरूको आत्मविश्वास बढाउने सहयोगी काममा केन्द्रित हुन चाहन्छु ।’
– नारायण खड्का