You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

चाउचाउ र खुर्सानीको भर

- ध्रुव तुलाधर
एथलेटिक्समा प्रदेश १ को प्रतिनिधित्व गरेका सम्पाल्मु शेर्पा, दिर्पा बस्नेत र अजिता गिरी शुक्रबार भोक सहन नसकेपछि साँधेको चाउचाउ खाँदै । तस्बिर ः अनिश रेग्मी/कान्तिपुर

(दाङ) - तुलसीपुरस्थित बेलझुन्डीमा अन्तर्राष्ट्रियस्तरको एथलेटिक्स ट्र्याक त बनेको छ । नजिकै बस्ती र पसल नहुँदा खेलाडीले भोकसमेत मेट्न पाएका छैनन् । होटलमा सबेरै ब्रेकफास्ट गरेर आएका खेलाडी शुक्रबार अपराह्न दौडपछि खाजा खोज्न भौंतारिँदै थिए । कतै भेटेनन् । गेट नजिकैको सानो चिया पसलमा चाउचाउ साँध्न लगाए । प्रदेश १ को प्रतिनिधित्व गरेका सम्पाल्मु शेर्पा, दिर्पा बस्नेत र अजिता गिरी एउटै थालमा साँधेको चाउचाउ खान व्यस्त थिए । उनीहरू फरक–फरक जिल्लाबाट आएका हुन् । खेलकुदमै हिँड्दाहिँड्दै पछिल्लो समय मिल्ने साथी भएका छन् । त्यसैले उनीहरू एउटै थालमा दिल खोलेर खाँदै थिए ।
‘दौडिने खेलाडीले यसरी जथाभावी खान हुन्छ त ?’ एउटीले जवाफ फर्काइन्, ‘भोकले मर्न लागिसकियो । के खानु त अरू ? गुरुहरूले त जथाभावी नखानु भनेको छ नि । भोक लाग्यो क्यारे, खाइयो ।’ उनीहरू जस्तै थुप्रै खेलाडी चिया, खाजा खोज्न भौंतारिइरहेका थिए । प्रतियोगितामा अलिकति अनुभव बोकेका खेलाडीले भने आफ्नो व्यवस्थापन आफैंले गरिरहेका छन् । उनीहरूले हल्का किसिमका डाइट केरा, स्याउजस्ता फलफूल आफैंले लगेर खाएका पनि छन् । धेरैको हकमा त्यस्तो छैन । पदाधिकारी र खेलाडीले पानीसमेत खान नपाइएको बताइरहेका थिए । खेलाडीहरू रंगशालाबाट ७ किमि दूरीमा रहेको तुलसीपुर र झन्डै २० किमि टाढा घोराहीमा बसेका छन् । खेलाडीलाई बिहान ल्याउने र खेल सबै सकिएपछि एकै सिफ्टमा लैजाने गर्नाले पनि उनीहरू खानाको मारमा परेका छन् । ७ बजे खेल सुरु हुने रिपोर्टिङ टाइमले गर्दा बिहानै आउनुपर्ने हुन्छ ।
एथलेटिक्स प्रशिक्षक धनीराम चौधरीका अनुसार खेलाडी आफ्नो समयअनुसार चल्न पाइरहेका छैनन् । आफ्नो खेल सकियो भने पनि जान सक्दैनन् । एकै सिफ्टमा जाने–आउने व्यवस्था छ । त्यसले गर्दा उनीहरूले बिहान खाएको सामान्य ब्रेकफास्टका भरमा १०–११ बजेसम्म खेल्नु परिरहेको छ । वरिपरि किनेर खाने ठाउँ नपाएको गुनासो खेलाडीले गरिरहेको उनले सुनाए । रंगशालाको ट्र्याक अन्तर्राष्ट्रियस्तरको छ । सुविधाको नाममा भने केही छैन ।
खेलाडीले जुन प्रदर्शन दिनुपर्ने हो, भोकका कारण त्यो दिन नसक्ने उनले बताए । ‘केही खाएर वार्मअप गरेर खेल्नुपर्ने हुन्छ । अहिले त्यो अवस्था छैन । बिहानैको खाजाका भरमा खेल्न खेलाडीलाई गाह्रो हुन्छ । त्यसमाथि गर्मी छ,’ उनले भने, ‘राष्ट्रिय खेलकुद कार्यक्रमबारे धेरैलाई थाहै छैन भन्छन् । थाहा पाएको भए ठेलागाडाले भए पनि पसल राख्थे होलान् । राष्ट्रिय खेलकुदजस्तो प्रतियोगिता भएको ठाउँमा धेरथोर त जानकारी हुनुपर्ने हो । मलाई पनि अचम्म लाग्यो ।’ रंगशालानजिकै बजार रहेको बस्ती छैन । ठूलो बजार तुलसीपुर पुग्न ७ किलोमिटर टाढा जानुपर्छ । घोराही जान त्योभन्दा झन्डै तेब्बर दूरी नाप्नुपर्ने हुन्छ । टिमहरू आफैंले व्यवस्थापन गरेर ल्याएमात्र हो, नभए खेलाडीले किनेर ब्यालेन्स डाइट खान्छु भन्नु त स्वर्गको फल आँखा तरी मर भनेजस्तै छ ।
यति ठूलो खेलकुद महोत्सव हुँदै छ भन्ने सहरका जानेबुझेकालाई पनि थाहा छैन । कक्षा १० मा अध्ययनरत आयुष रेग्मी भन्छन्, ‘यहाँ राष्ट्रिय खेलकुद भएको छ र ? खोइ मलाई त थाहै छैन ।’ यता रातारात छानो हालिएको तुलसीपुरमै रहेको कराँतेको हलमा शुक्रबार दिउँसो तामझामसाथ भाषण गरेर प्रतियोगिता उद्घाटन गरियो । बेलुकीपख आएको हावाहुरीले अस्तव्यस्त बनाएपछि खेल हुने–नहुने टुंगो लागेको छैन ।

हलको आधा भागमा मात्र ट्रस हालिएकाले त्यो खुला नै थियो । जसले गर्दा हावाहुरी र पानी आयो भने खेलाउन सक्ने अवस्था हुँदैन । उद्घाटनको चस्काआठौं राष्ट्रिय खेलकुदको नेपालगन्जमै बिहीबार भव्य उद्घाटन भइसकेको हो । यहाँ पनि एथलेटिक्सको खेल बिहीबारै सुरु भएको थियो । तर औपचारिक उद्घाटन भन्दै शुक्रबार खेलाडीलाई चर्को घाममा भाषण सुनाएर पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो । मुख्यस्थलमा राष्ट्रपतिबाट उद्घाटन नभएका कारण यहाँको उद्घाटन पनि थाती राखिएको बताइएको छ । व्यवस्थापन भद्रगोल हुँदा खेलाडीले खेल सुरु भएको दुई दिन बितिसक्दा पनि घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । शुक्रबार पदक वितरण गरिने भनिए पनि ट्रे नहुँदा र स्पिकरमा ब्याट्री सकिँदा बाँड्न नपाएको एथलेटिक्सका मुख्य प्रशिक्षक विक्रमजंग थापाले सुनाए ।

मुख्य पृष्ठ

'बालुवाटारको जग्गाबारे छानबिन होस्'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेकपाका महासचिव विष्णु पौडेलले सम्बन्धित कार्यालयले प्रचलित कानुनअनुसार किन्न मिल्ने यकिन गरेकैले आफूले बालुवाटारमा छोराका नाममा आठ आना जग्गा खरिद गरेको उल्लेख गर्दै यसमा छानबिन माग गरेका छन् । राज्यको आधिकारिक निकायबाट हुने छानबिन र निष्कर्षमा आफ्नो पूर्ण समर्थन रहने जनाउँदै उनले त्यसलाई कार्यान्वयन गर्नसमेत आग्रह गरेका छन् । ‘२०६१ पुस २९ गते काठमाडौं महानगरपालिका ४ बालुवाटारस्थित ८ आना जग्गा दर्ता स्रेस्ता सम्बन्धित मालफोत कार्यालयमा बिक्री गर्ने व्यत्ति उमा ढकाल र माधवी सुवेदीका नाममा कायम रहेको र प्रचलित कानुनबमोजिम सम्बन्धित कार्यालयले खरिदबिक्री गर्न मिल्ने यकिन गरी लिखत पारित गरी लाग्ने राजस्व लिई छोरा नवीन पौडेलका नाममा पास गरिदिएको तथ्य पुनः स्मरण गराउँछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।

उनले कित्ता नं ३०९ को एक पैसा एक दाम र कित्ता नं ३१५ को ७ आना २ पैसा ३ दाम गरी कुल काठ आना जग्गाका सम्बन्धमा वास्तविकता ओझेल पार्ने गरी समाचार प्रकाशित भएको आरोप लगाएका छन् । ‘सरकारी जग्गा हडप्ने दूषित मनसायले कागज स्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा म र मेरो पविारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै नरहने पनि अवगत गराउन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ, ‘मेरा निम्ति यस्तो अपराधजन्य गतिविधि सोच्नसमेत नसकिने विषय हो ।’ पौडेलले उक्त जग्गा नवलपरासीको बर्दघाट–१० को पूर्वपश्चिम राजमार्गनजिक श्रीमतीका नाममा रहेको ८ कट्ठा जग्गा बिक्री गरी प्राप्त स्रोतबाट खरिद गरेको दाबी गरेका छन् । त्यसबेला आफू मन्त्री, सांसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको उनको भनाइ छ ।


पौडेलले सार्वजनिक जग्गा संरक्षण गर्ने, गैरकानुनी रूपमा जग्गा दर्ता गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनबमोजिम कारबाही गर्न सरकारले सञ्चालन गरिरहेको अभियानमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रूपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले गरेको निर्णय र चालेको कदमलाई म हार्दिक स्वागत र समर्थन गर्दछु,’ उनले भनेका छन् ।पौडेलले यो जग्गाका सम्बन्धमा २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएदेखि नै आफूले सम्पत्ति विवरणमा उल्लेख गर्दै आएको बताएका छन् । पौडेलले जग्गा सम्बन्धमा जारी गरेको यो दोस्रो विज्ञप्ती हो । यसअघि पनि उनले उक्त जग्गाका विषयमा आफूले सम्बन्धित निकायले खरिद गर्न मिल्ने भनेकाले किनेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

मुख्य पृष्ठ

छोराछोरी भर्ना गराउन भौंतारिँदै पूर्वलडाकु

- सुदीप कैनी
९ वर्षीय छोरा प्रकाशका साथ शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कर्णलाल जैसी ।

(काठमाडौं) - छोराछोरी पढाउन सहर पसेका जाजरकोट कुसे गाउँपालिका ३ का कर्णलाल जैसी यतिबेला काठमाडौं छाडेर गाउँ फर्कने सोचमा छन् । ३ छोराछोरी पढाउने योजना त्यागेर उनी वर्ष दिन नपुग्दै गाउँ फिर्ने निष्कर्षमा पुगेका हुन् । सरकारले वैशाख २ देखि १६ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान घोषणा गरेको छ । प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, जनप्रतिनिधि, शिक्षासेवीले अभिभावकत्व ग्रहण गरेर असहाय बालबालिकालाई गत वर्षदेखि नै विद्यालयमा भर्ना गराएका छन् । तर ‘पाटन’ उपनामले परिचित पूर्वलडाकु जैसीको न छोराछोरी विद्यालय भर्ना गराउने सामर्थ्य छ, न त अभिभावकत्व लिइदिने कुनै भरपर्दा सहयोगी भेटेका छन् । त्यसैले उनी शैक्षिक सत्रको सुरुदेखि सिंहदरबारमा विभिन्न मन्क्रालय धाइरहेका छन् । शुत्रबार दिउँसो शिक्षा मन्त्रालयमा भेटिएका उनले भने, ‘छोराछोरी पढाउन नसकिने भइयो, गाउँ फर्कन लागेको छु ।’ गाउँ फिरे पनि छोराछोरी पढाउने योजना भने छैन । घरबाट टाढा छ स्कुल ।


एक छोरा र दुई छोरीको खर्च धान्नै मुस्किल परेपछि उनी कामको खोजीमा परिवारसहित गत जेठमा काठमाडौं आएका थिए । गतवर्ष ८ वर्षे छोरा प्रकाशलाई कक्षा एकमा भर्ना गराए । ६ र ४ वर्षे छोरीहरू प्रतिमा र सुनितालाई मैनमैजु मावि काठमाडौंमा नर्सरीमा भर्ना गरे । विद्यालय र शिक्षकहरूले सहयोग गरे पनि उनलाई खर्च धान्न धौधौ पर्‍यो । ३ वटै छोराछोरी यसपालि कक्षा चढे । नयाँ कक्षामा भर्ना गर्न र उनीहरूलाई निरन्तर विद्यालय पढाउन उनीसँग खर्च छैन । माओवादी ‘जनयुद्ध’ मा सामेल हुँदा लागेको गोलीले दाहिने खुट्टा राम्रो गरी टेकिँदैन । श्रीमती निर्मलाको मजदुरीले कोठा खर्च पनि धान्दैन । ‘६ हजार त कोठा भाडा नै तिर्नुपर्छ, यहाँ पानी पनि किन्नुपर्ने रहेछ,’ उनले भने, ‘मेरो बाल्यकाल पनि गाई, बाख्रा चराएर बित्यो, अब गाउँ फर्केपछि छोराछोरीको हाल पनि मेरोजस्तै हुने भयो ।’

सामुदायिक विद्यालयमै छोराछोरी पढाउन पनि नसक्ने अवस्था आएको उनले सुनाए । ‘बोर्डिङमा पढाउन त हामीले सपनामा पनि नसोचे हुने रहेछ,’ उनले भने, ‘सरकारी विद्यालयमा पैसा तिर्न नपरे पनि लुगा, किताब, कापी, खाजा, खानाको पैसा पुर्‍याउनै सकिएन ।’ कर्णलाल साधारण साक्षर हुन् । छोरीछोरीलाई उच्च शिक्षासम्म पढाउने उनको ठूलो रहर छ । उनको पालामा घरबाट एक दिनको पैदल दूरीमा मात्रै स्कुल थियो । त्यसैले कहिल्यै स्कुल भर्ना भएनन् । २०५६ मा माओवादीमा भूमिगत भएपछि बल्ल साधारण लेखपढ सिके । ‘आमालाई मैले चिन्नै पाइनँ, १२ वर्षसम्म बासँगै गोठालो बनेर बाल्यकाल बित्यो,’ कर्णलालले भने । बा पनि बितेपछि उनी माओवादीमा भूमिगत भए । ‘घरमा बिहान–बेलुका खान पनि दुःख थियो,’ उनले भने, ‘गाउँमा आउने माओवादी कार्यकर्ताले सँगै खाउँला, बसौंला भनेपछि भूमिगत भएँ ।’ अचेल पनि उनको घरबाट दुई घण्टाको दूरीमा मात्रै विद्यालय छ । छोरीछोरीलाई स्कुल पुर्‍याउनै नसकेपछि उनी काम र नजिकको विद्यालय खोज्दै काठमाडौं आएका हुन् । ‘छोरालाई मात्र विद्यालय पठाउँदा त खर्च चलाएकै थियौं, गाउँको खेतीपातीले ३/३ जनालाई पढाउन नसक्ने भएपछि हरेस खाएँ ।’ छोरीहरू पनि भर्ना गर्ने बेला भएपछि उनीहरू सहर पसे । वर्ष दिनसम्म प्रयास गर्दा पनि खर्चअनुसारको कमाइ हुने सुर नदेखिपछि उनले फेरि गाउँ नै फर्कने योजना बुनेका हुन् ।


छोरीछोरी भर्ना गराउन नसक्ने घर्तीको अवस्था देखेर शिक्षकहरूले मन्त्री र मन्त्रालयको सहयोग लिन सल्लाह दिएका थिए । त्यसपछि उनी चिनजानका गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगें । गृह मन्त्रालयबाट शिक्षा मन्त्रालय जान सुझाव दिएपछि उनी शिक्षामन्त्री गिरिराजमणि पोखरेलको सचिवालयमा ३ पटकसम्म धाइसकें । मन्त्रीका स्वकीय सचिवले तीनमध्ये एक जनालाई पढाउने व्यवस्था मिलाउने मौखिक बचन त दिएका छन् । अझै कुन स्कुलमा पढाउने, कहिले भर्ना गर्ने टुंगो लागेको छैन । पोशाक, स्टेसनरीको जोहो त गर्नु नै छ । ‘आफ्नै पार्टीको सरकार छ, हिजोसँगै युद्ध लडेका नेताहरू मन्त्री छन्, कम्युनिस्टको सरकार छ जानुस् भनेर शिक्षकहरूले भन्नुभयो,’ उनले भने, ‘कति नेतालाई फोन गरें, भेटें, कसैले सहयोग गरेन, जो पनि हुन्छ/हुन्छ मात्र भन्छन् ।’ छोरीछोरीलाई विद्यालय भर्नासम्म गर्न नसक्दा उनी निराश छन् भने राजनीतिक व्यवस्थाप्रति दिक्क । भने, ‘हिजो ज्यान फालेर युद्धमा लागियो, आज आफ्नै छोराछोरी पढाउन नसक्दा दुःखी छु ।’ खासमा उनलाई शान्ति प्रक्रियापछि अस्थायी शिविरमा बस्ने मन थियो । स्थानीय पार्टी नेता–कार्यकर्ताले वाईसीएलमा बसेर राजनीतिमा सक्रिय हुन सुझाव दिए । ‘२०६४ को चुनाव आउँदै थियो, माओवादीबाट कालीबहादुर मल्ल र भक्तबहादुर शाह जाजरकोटबाट चुनाव लडदै थिए,’ कर्णलालले खुट्टामा गोलीले बनाएको खाटा सुमसुम्याउँदै भने, ‘वाईसीएलमा बसेर उम्मेदवारहरूको सुरक्षा गर्नुपर्छ भनेपछि त्यसै गरें ।’ दुवै नेता चुनाव जितेर काठमाडौं आए । उनी पनि आफ्ना सभासद भेट्न पहिलोपटक काठमाडौं आए ।

सभासद भक्तबहादुरलाई भेटेर आफू अपांग बने पनि राहत नपाएको गुनासो गरे । भक्तबहादुरले शान्ति मन्त्रालय हुँदै स्थानीय प्रशासनबाट द्वन्द्वपीडितको राहत पाउने भनेर उनलाई घर फर्काए । १० वर्ष बित्यो । सँगै युद्ध लडेका नेता पटकपटक उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि सांसद बने, तर उनले अहिलेसम्म कुनै राहत पाएनन् । उनीसँग सशस्त्र द्वन्द्वमा खुट्टामा गोली लागेको भनेर ‘ग’ श्रेणीको परिचयपत्र मात्र छ । ‘त्यही गोलीका कारण एक दिन काम गरें भने दुई दिन थला पर्छु,’ उनले भने । सभासद भेटेर फर्केपछि उनले निर्मलासँग विवाह गरेर घरजम बसाए । ‘युद्धभरि र चुनाव नभएसम्म पार्टी र नेताहरूले माया गर्थे, पछि वास्ता गर्न छाडदै गए, त्यसपछि बिहे गर्नुपर्ने रहेछ, सहारा चाहिन्छ भन्ने लाग्यो, बिहे गरें,’ उनले भने । खेतीपातीका लागि दुई हल पाखो र एक हल खेत छन् उनका । त्यसले ५/६ महिनासम्म मात्र खान पुग्छ । घर व्यवहारमा व्यस्त हुन थालेपछि राजनीतिबाट अलग हुँदै गए । २०७० सम्म आइपुग्दा ‘जनयुद्ध’ लडेको पार्टी र नेता देख्दा मन मरिसकेको थियो । ‘बच्चाहरू जन्मिसकेका थिए, खान लाउनै गाह्रो थियो,’ उनले भने, ‘२०७० को चुनावमा भोट हाल्नै गइनँ ।’ त्यही बेला मोहन वैद्य समूहले चुनाव बहिष्कार गरेको थियो । ‘०७० मा वैद्य पार्टीमा लागेर भोट हालेन भनियो, ०७४ मा पनि भोट हाल्न गइनँ, विप्लब समूहमा लाग्यो भनेर मलाई पुलिस लगाए,’ उनले भने, ‘खासमा म कुनै पनि पार्टीमा लागेको छैन, जुन पार्टीको नेतालाई भोट हाले पनि केही नहुने रहेछ भनेर चुनावको दिन घरमै बसेको हुँ, मेरो भाग्य नभएर हो कि मान्छे नभएर, न राहत पाएँ न छोराछोरी भर्ना गराउन कसैको सहयोग ।’


जाजरकोटको लक्ष्मी निमाविमा भर्ना भएका छोरालाई उनले काठमाडौं ल्याएका थिए । सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनबाट आधारभूत तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था गरेको छ । भर्ना, मासिक शुल्क र पाठ्यपुस्तकबाहेक अन्य खर्च भने अभिभावक आफैंले बेहोर्नुपर्छ । गरिब र विपन्न अभिभावकलाई पोसाक, कापीकलम, खाजा, खानालगायत खर्च जुटाउनै मुस्किल पर्छ । अझै झन्डै एक लाख बालबालिका विद्यालय बाहिर रहेको आकलन गरिएको छ । विद्यालय भर्ना भए पनि कक्षाकोठामा नटिक्ने समस्या कायमै छ । कक्षा १ मा भर्ना भएकामध्ये करिब ५० प्रतिशत विद्यार्थी मात्रै कक्षा १० को एसईईमा सहभागी हुने गरेका छन् । देशभरका अधिकांश सामुदायिक विद्यालयमा शिक्षक र भौतिक पूर्वाधारको अभावले कुनै न कुनै नाममा विद्यार्थी तथा अभिभावकबाट शुल्क लिने गरिन्छ । निजी विद्यालयका शुल्क गरिब, विपन्न र मजदुर वर्गको पहुँच बाहिर छ ।

Page 2
समाचार

नेविसंघमा ५ गुटको कार्यक्रम

- कुलचन्द्र न्यौपाने

(काठमाडौं) - कांग्रेस भ्रातृ संगठन नेविसंघको स्थापना दिवस मनाउन शुक्रबार पाँचवटा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएका छन् । पार्टीभित्रका विभिन्न गुटमा विभाजित विद्यार्थी नेताहरूले छुट्टाछुट्टै कार्यक्रम राखेका हुन् ।
कांग्रेस संस्थापन पक्षले संघको काठमाडौं कार्यसमितिको आयोजनामा स्थापना दिवस मनाउने निर्णय गरेको थियो । ऊक्त कार्यत्रम सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पार्टी पदाधिकारी, संघका पूर्वअध्यक्षहरूसमेतको उपस्थितिमा मनाउने प्रचार गरिएको थियो । राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा सभापति देउवा एकैछिन बसेर बाहिरिए । वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नै भएनन् ।
वरिष्ठ नेता पौडेलनिकट विद्यार्थी नेता भने कार्यक्रममा उपस्थित भएलगत्तै बाहिरिए । आफ्नो पक्षका नेताहरूलाई मञ्चमा नबोलाइएको भन्दै पूर्वमहामन्त्री मनोजमणि आचार्य, दीपक भट्टराई, मनहरि श्रेष्ठ, प्रतिमा गौतम, मोती भण्डारीलगायत विद्यार्थी नेताको समूह कार्यक्रम बहिष्कार भन्दै निस्कियो । ‘मनोजमणि नेतृत्वको टोलीलाई मञ्चमा नबोलाइएकाले बहिष्कार गरेका हौं,’ भण्डारीले भने ।
संघका काठमाडौं जिल्ला कार्यसमिति अध्यक्ष मनोज वैद्य पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट हुन् । केन्द्रीय कार्यसमिति नभएपछि पार्टीले काठमाडौं जिल्ला कार्यसमितिकै आयोजनामा स्थापना दिवसको औपचारिक कार्यक्रम गर्ने निर्णय लिएको थियो । तर, देउवानिकट विद्यार्थीले प्रज्ञा भवनमा छुट्टै कार्यक्रमसमेत गरे । प्राविधिक विद्यार्थी परिषद् (फोर्स) को आयोजनामा प्रज्ञा भवनमा आयोजना गरिएको कार्यक्रममा सभापति देउवानिकट पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह, निवर्तमान महामन्त्री सरोज थापा, राजीव ढुंगानासहितका विद्यार्थी नेताको उपस्थिति थियो । पार्टी नेताहरू भने गएनन् ।
पूर्वमहामन्त्री सिटौला पक्षीय विद्यार्थीले चाबहिलको स्मार्ट क्याफेमा अर्को कार्यक्रम आयोजना गरे । संघका पूर्वमहामन्त्री कुन्दन काफ्ले, पूर्वउपाध्यक्ष डिल्ली सुवेदी, रामप्रसाद अधिकारी, पूर्वसहमहामन्क्री बलदेव तिमिल्सिनाको समूहले कार्यत्रम गरेको थियो । यो कार्यक्रममा पनि केन्द्रीय तहका नेता उपस्थित भएनन् ।
महामन्क्री कोइरालानिकट विद्यार्थी नेताले बिजुली बजारमा छुट्टै कार्यत्रम आयोजना गरेका थिए । जसमा स्वयं महामन्त्री कोइराला सहभागी भए । उनीनिकट पूर्वउपाध्यक्ष उर्मिला थपलिया, पूर्वमहामन्क्री नीलकण्ठ रिजाललगायतले कार्यत्रम आयोजना गरेका हुन् । यता वरिष्ठ नेता पौडेलनिकट विद्यार्थी नेताले स्थापना दिवसकै अवसरमा वाल्मीकि क्याम्पसमा दीप प्रज्वलन गरेका थिए । जसमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी सहभागी थिए ।
पूर्वअध्यक्ष महरले पार्टी नेताहरूको स्वार्थका कारण गुटैपिच्छेका कार्यक्रम आयोजना भएको बताए । ‘नेविसंघ पृष्ठभूमिका नेताहरू पार्टीको केन्द्रीय कार्यसमितिमा आधाभन्दा बढी छन्, सबैलाई आ–आफ्नो स्वार्थअनुकूल नेतृत्व बनाउने होड छ,’ उनी भन्छन्, ‘यही स्वार्थका कारण नयाँ नेतृत्व आउन ढिलाइ भएको छ ।’ उनले निर्वाचित आफनो नेतृत्वलाई काम गर्न दिएको भए अहिलेसम्म १२ औं महाधिवेशन सम्पन्न भइसक्ने दाबी गरे । ‘धेरै जिल्लामा अधिवेशन भइसकेको थियो, अहिलेसम्म केन्द्रीय अधिवेशन सम्पन्न हुन्थ्यो,’ उनले भने ।
११ औं महाधिवेशनमा महरसँगै प्रतिस्पर्धामा पराजित मनोजमणि आचार्यले संघलाई अस्तव्यस्त बनाउने काममा पार्टी नेतृत्व मुख्य जिम्मेबार रहेको आरोप लगाए । ‘पार्टी नेतृत्वले आफ्नो अर्कमण्यता ढाकछोप गर्न एउटा ऊर्जाशील संगठनलाई अन्योलमा धकेल्ने काम भएको छ,’ उनले भने, ‘संघलाई विभाजित मानसिकतामा पुर्‍याएर संघलाई अस्तव्यस्त बनाउने काममा नेतृत्व पुगेको छ ।’
संघको नेतृत्व ल्याउन कार्यक्रमको होडबाजी हुने गरेको अर्का नेता मोती भण्डारी बताउँछन् । ‘विद्यार्थीमाझ आफ्नो प्रभावकारिताबाट नेताहरूलाई रिझाएर नेतृत्व हत्याउन सकिन्छ कि भन्ने हिसाबले संघमा गुटैपिच्छे कार्यक्रम हुने गरेका छन्,’ उनले भने, ‘विद्यार्थीको मुद्दा उठाएर होइन, कार्यक्रमको होडबाजी गरेर नेतृत्व लिने लाइनमा सबै केन्द्रित हुन थालेका छन् ।’
संघको नयाँ नेतृत्व बन्न ढिलाइ भएको प्रति नेताहरूले भने ठोस जवाफ दिन सकेनन् । सभापति देउवाले अब बन्ने तदर्थ समितिमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्ने विवादले नेतृत्व चयनमा ढिलाइ भएको बताएका थिए ।

समाचार

पारवहन प्रोटोकलमा हस्ताक्षर हुने

राष्ट्रपति वैशाख ११ मा चीन जाँदै
नेपालले बीआरआई सम्झौता अघि बढाउन हालसम्म कुनै औपचारिक संयन्त्र बनाएको छैन, जबकि श्रीलंकामा राष्ट्रपतिमातहतमा र पाकिस्तानमा बीआरआईका परियोजना कार्यान्वयन गर्ने विभाग नै खडा भइसकेका छन् ।
- घनश्याम खड्का

(काठमाडौं) - राष्ट्रपति विद्यादेवी भण्डारी यही वैशाख ११ गते चीनको राजकीय भ्रमणमा निस्कने भएकी छन् । चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा भण्डारीले वैशाख १९ सम्म चीन भ्रमण गर्न लागेकी हुन् ।
भ्रमणका क्रममा दुई देशका राष्ट्रपतिबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा व्यापार तथा पारवहन सन्धिको प्रोटोकललगायत केही महत्त्वपूर्ण द्विपक्षीय योजनाहरूमा हस्ताक्षर हुने जनाइएको छ । राष्ट्रपति भण्डारीले बेइजिङमा हुने ‘बेल्ट एन्ड रोड (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि राष्ट्रपति रामवरण यादव सन् २०१५ को मार्चमा हेनान प्रान्तमा आयोजित बोआओ फोरममा भाग लिन गए पनि त्यो औपचािरक भ्रमण मात्रै थियो । त्यतिबेला यादवले समकक्षी सीसँग सामान्य भेटघाट गरे पनि कुनै सम्झौता भएको थिएन । जानकारहरूका अनुसार यस पटक भने चीनले राष्ट्रपति भण्डारीलाई लगभग कार्यकारी तहकै हैसियतमा महत्त्व दिएर निम्त्याएको छ ।
‘भारतले हाम्रा दुवै राष्ट्रपतिलाई राजकीय भ्रमणमा निम्त्याउँदा पनि उत्तरको छिमेकीले चाहिँ हालसम्म कसैलाई यसरी बोलाएको थिएन,’ शीतलनिवासका एक अधिकारी भन्छन्, ‘त्यसले गर्दा नेपालको राजनीतिक परिवर्तनलाई चीनले नरुचाएको हो कि भन्ने आशंका काठमाडौंमा परिरहेको थियो, त्यसलाई चिर्न पनि उसले राष्ट्रपतिलाई राजकीय निम्तो दिएको देखिन्छ ।’
भारतले राष्ट्रपति यादवलाई सन् २०१० मै राजकीय सम्मानका साथ दिल्लीमा स्वागत गरेको थियो भने भण्डारीलाई २०१७ को अप्रिलमा । भण्डारीको पनि राष्ट्र प्रमुखका हैसियतले यो पहिलो चीन भ्रमण हो ।
चिनियाँ मामिला जानकारहरूका अनुसार राष्ट्रपतिलाई ‘रिकग्नाइज्ड’ गर्न मात्रै चीनले भण्डारीलाई बोलाएको होइन । सन् २०१७ को मे १२ मा एसियाका ६५ भन्दा बढी देशहरूलाई जोड्ने चीनको महत्त्वाकांक्षी योजना बीआरआईमा संलग्न हुने विषयमा दुई देशबीच सम्झौता भएको थियो । यो सम्झौता तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको थियो ।
‘बीआरआईबाट नेपालले महत्त्वपूर्ण योजना कार्यान्वयन गर्ने अपेक्षा चीनले गरेको थियो तर भनेजस्तो कुनै प्रगति काठमाडौंले गर्न सकेन, जसले गर्दा बेइजिङ केही निराश थियो,’ चीन मामिलाका एक विश्लेषक भन्छन्, ‘ओली सरकारले दाहाल सरकारको पालामा भएका सम्झौताका योजना अघि बढाए, त्यसको जस आफूलाई भन्दा दाहाललाई नै जाने भन्ने ठानेकाले यसबारे प्रगति हुन नसकेको चिनियाँहरूको बुझाइ छ ।’
नेपालले बीआरआई सम्झौतालाई अघि बढाउन हालसम्म कुनै औपचारिक संयन्त्र बनाएको छैन । जबकि श्रीलंकामा राष्ट्रपति मातहतमा र पाकिस्तानमा बीआरआईका परियोजना कार्यान्वयन गर्ने विभाग नै खडा भइसकेका छन् ।
‘भारत बीआरआईमा असंलग्न मात्रै होइन, विरोध नै गर्दै आइरहेको छ,’ चीनका पूर्वराजदूत डा. महेश मास्के भन्छन्, ‘तर पनि उसले बीआरआईकै कार्यान्वयनका लागि चीनले खडा गरेको एसियाली पूर्वाधार विकास बैंकबाट भने दुई अर्ब डलरको सहुलियत ऋण भने लिइसकेको छ । नेपाल भने पक्ष राष्ट्र भएर पनि न कुनै परियोजना अगाडि बढ्न सक्यो न हामीले बैंकबाट ऋण लिएर विकासको काममा लगाउनै सक्यौं ।’
सरकारले प्राथमिकतासाथ योजना छनोट गर्न नसकेको, भनेजस्तो तत्परतासाथ संयन्त्र पनि बनाउन नसकेको र यसमा चासोसमेत पनि आशा गरेअनुसारको नदेखाएको चिनियाँ पक्षको बुझाइ छ । सरकारको यो उदासीनता तोड्न चीनले राष्ट्रपतिको ‘कार्ड प्रयोग गरेको’ जानकारहरू बताउँछन् ।
‘प्रधानमन्त्रीको वरपरका मानिसमा पश्चिमा खेमासँग बढी हिमचिम छ र त्यसले गर्दा बीआरआईमा ओली सरकारले खास चासो देखाएन भन्ने चिनियाँ बुझाइ देखिन्छ,’ ती विश्लेषक भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्ध राम्रो भएको र राष्ट्रपतिको आग्रहलाई प्रधानमन्त्रीले आलटाल गर्न नसक्ने अवस्था रहेको बुझेपछि चीनले भण्डारीलाई नै बोलाएर सम्झौता गर्न लागेको हो ।’
ऋणको दुश्चक्रमा पार्ने हुनाले चीनसँग कुनै सम्झौता गर्नुअघि सतर्क रहन अमेरिकाले खुला रूपमै नेपाल सरकारलाई सुझाउँदै आएको छ । राष्ट्रपतिलाई चीनले बीआरआईका लागि बेइजिङ आउन निम्तो दिइरहेकै बेला गत फागुनको दोस्रो साता नेपाल आएका अमेरिकी उपरक्षामन्त्री जोए फेल्टरले कठमाडौंमा पत्रकार सम्मेलनै गरेर चीनले नेपालमा गर्ने लगानी उसको मात्रै हितमा हुन नहुने अझिव्यक्ति दिएका थिए ।
ऋणको दुश्चत्रमा पर्ने आरोपबाट मुक्त हुनकै लागि चीनले नेपाल सरकारले बुझाएका ३५ योजनालाई झारेर ९ वटामा पुर्‍याएको ठान्छन् रूपक सापकोटा । ‘चीन नेपालको पनि हित हुने खालका ठूला योजनामा लगानी गर्न आतुर छ,’ चीनको रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा विद्यावारिधि उनले भने, ‘नेपालले भनेजस्तो योजना छनोट गर्न सकेको छैन, त्यसैले उनीहरू केही निराश पनि छन् ।’
चीनको केरुङसम्म आइपुग्ने रेल काठमाडौंमा पनि आउनुपर्ने नेपालको मुख्य जोड छ । ‘चिनियाँहरू त्यो ल्याउन तयार छन् तर अनुदानमा भने होइन,’ उनी भन्छन्, ‘बीआरआईको परियोजनामा नेपाल साझेदारका हैसियतले प्रस्तुत हुन सकेन, चीनलाई दाता राष्ट्रका रूपमा मात्रै हेरियो र योजनाहरू अघि बढाइएन, यहीँनिर भूल भएको देखिन्छ ।’ चीनसँग विश्व बैंक र एसियाली विकास बैंकले दिएभन्दा कम ब्याजदरमा ऋण लिएर रेलमार्ग बनाउन प्रस्ताव गरेको भए काम अघि बढिसक्ने सापकोटाको बुझाइ छ ।

समाचार

उडान राष्ट्रिय ध्वजावाहकमा

- सुरज कुँवर

(काठमाडौं) - राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर जाने निश्चित भएको छ । गणतन्त्रपछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेको यो पहिलोपटक हो ।
‘यसअघि राष्ट्रपति कमर्सियल उडानमा दिल्ली र बैंकक जानुभएको थियो,’ निगमका एक अधिकारीले भने, ‘हाम्रो विमान चार्टर नै गरिएको गणतन्त्रपछि पहिलो पटक हो ।’ निगमले उक्त भिभिआईपी उडानमा एयरबस ३२० पठाउने निर्णय गरेको छ । यसअघि प्रधानमन्त्री केपी ओलीले भारत र चीन भ्रमणमा हिमालय एयरलाइन्सको एयरबस ३२० प्रयोग गरेका थिए ।
उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले निगमको विमानलाई प्रतिउडान घन्टाको ११ हजार ६ सय डलर हाराहारी भाडा तिर्ने सर्तमा लैजान लागेको हो । ‘निगमको न्यारोबडी जहाज लैजाने टुंगो लागेको छ,’ स्रोतले भन्यो । निगमले जहाज पार्किङमा रहेको बेलाको भाडा तिनु नपर्ने जनाएको छ । तीन दिनको यो चार्टर उडानमा निगमले १२ घन्टा हाराहारीको मात्रै रकम लिनेछ । विमानको ल्यान्डिङ, पार्किङलगायत र इन्धन खर्च निगम आफैंले बेहार्ने जनाएको छ ।
निगमको आन्तरिक मापदण्डअनुसार यस्तो उडानमा तीन जना पाइलट अनिवार्य हुन्छन् । ‘भिभिआईपी उडानमा एक जना प्रशिक्षक पाइलट (आइपी) र अरु दुई सिनियर क्याप्टेन वा यस्तै टिम रहनेछ,’ स्रोतले भन्यो ।
राष्ट्रपति भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित उक्त उडानमा ७० देखि ८० जना नेपाली रहने परराष्ट्रले निगमलाई जानकारी गराएको छ । ‘राष्ट्रपतिको भ्रमण दललाई काठमाडौंबाट सियान र त्यहाँबाट बेइजिङसम्म निगमको विमानले पुर्‍याउनेछ,’ स्रोतले भन्यो । अहिलेसम्म चीनका कुनै पनि सहरमा निगमको उडान छैन । यो चार्टर उडान भएकाले निगमले पहिलोपटक विमान राजकीय भ्रमणमा पठाउन लागेको हो ।
काठमाडौंबाट सियान पुग्न चार घन्टा र त्यहाँबाट बेइजिङलाई दुई घन्टा हाराहारी लाग्छ । काठमाडौंदेखि बेइजिङसम्म कुनै पनि व्यावसायिक एयरलाइन्सको उडान छैन । सियान–काठमाडौं रुटमा तिब्बत एयरलाइन्सले सेवा दिइरहेको छ ।
भीभीआईपी उडान वैशाख ११ गते ११ बजे बिहान काठमाडौंबाट हुनेछ । उडानको समयमा नोटाम (उड्डयनकर्मीहरूका लागि जारी हुने सूचना) लागु हुनेछ । अर्थात उक्त उडानको आधा घन्टा अघि तथा पछि मात्रै अन्य व्यावसायिक एयरलाइन्सका उडान हुनेछन् । भिभिआईपी उडानको समयमा अन्य व्यावसायिक उडान हवाई सुरक्षाका कारण रोकिन्छन् । राष्ट्रपतिलाई १२ गते बेइजिङ पुर्‍याएर निगमको विमान १३ गते रित्तै काठमाडौं फर्किनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार बेइजिङ्गपछि नेपाली टोली ल्हासा जाने कार्यक्रम छ । ल्हासाबाट फर्किदा निगमको जहाज हुनेछैन । उक्त रुटमा एयरबसको ३२० उपयुक्त मानिदैन । बढी उचाइमा पर्ने भएकाले त्यस क्षेत्रबाट एयरबसका ३१९ सिरिजका विमानले ल्हासा–काठमाडौं–ल्हासा उडान गर्छन् । ती विमानमा एयरबस ३२० को दाजोमा अक्सिजनको उपलब्धता राम्रो हुन्छ । ल्हासाबाट टोली चिनियाँ विमानमा फर्कनेछ । निगमले एउटा जहाज तीन दिनका लागि भिभिआईपी उडानमा पठाउँदा काठमाडौंबाट हुने यसका अरु अर्न्तराष्ट्रिय सेक्टरमा खासै प्रभाव नपर्ने दाबी गरेको छ । ‘एउटा विमान चार्टरमा पठाउदा यता अरू उडानमा आधा/एक घन्टा हाराहारी असर पर्न सक्ला,’ स्रोतले भन्यो ।

समाचार

सर्भे नगरी दरबन्दी थप

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– परराष्ट्र मन्त्रालयमा ओएन्डएम (संगठन तथा व्यवस्थापन सर्भे) नगरी निजामती ऐन तथा नियमावलीविपरीत उपसचिवका दुई दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
ऐन तथा नियमावलीमा कुनै पनि मन्त्रालय तथा सेवामा दरबन्दी थप गर्नुअघि ओएन्डएम सर्भे गर्नुपर्ने अनिवार्य व्यवस्था छ । सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा कति कर्मचारी आवश्यक छ, कति दरबन्दी थपघट गर्नुपर्छ भन्ने तय गर्न सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि राखी ओएन्डएम सर्भे गरिरहेको छ । सर्भेले नयाँ दरबन्दी प्रस्ताव नगरेसम्म विद्यमान निजामती सेवाको दरबन्दी थप नगर्ने र भएका कर्मचारीलाई नै तीन तहमा समायोजन गर्ने सरकारको नीतिगत निर्णय छ ।
स्रोतका अनुसार सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेलकी बुहारी प्रमिता अधिकारीलाई परराष्ट्र सेवाको शाखा अधिकृतबाट उपसचिवमा बढुवाको बाटो खोल्न दरबन्दी थप गरिएको हो । सुरुमा सामान्य प्रशासन र अर्थ मन्त्रालय दुवैले मानेका थिएनन् । दरबन्दी थप्न ओएन्डएमका अतिरिक्त अर्थ र सामान्य प्रशासनको सहमति आवश्यक हुन्छ । ओएन्डएम समितिले समेत दरबन्दी थप्न मानेको थिएन ।
सार्क र बिमस्टेकमा परराष्ट्रका एक/एक जना उपसचिव रहने गरी दुई दरबन्दी थप गरिएको हो । नेपालमै रहेको सार्क सचिवालयमा झन्डै ३५ वर्षदेखि परराष्ट्रका उपसचिव काजमा गएर डाइरेक्टर हुने परम्परा थियो । अब स्थायी रूपमै उपसचिव राख्न लागिएको हो । बंगलादेशमा सचिवालय रहेको बिमस्टेकमा पनि स्थायी रूपमा उपसचिव रहने गरी पहिलोपटक दरबन्दी कायम गरिएको छ । यसअघि बिमस्टेकको सचिवालयमा परराष्ट्रका उपसचिव रहने व्यवस्था थिएन ।
परराष्ट्र स्रोतका अनुसार दुवै ठाउँमा परराष्ट्रको उपसचिवको दरबन्दी राख्न आवश्यक थिएन । ‘अधिकारीका लागि बढुवा गर्न दुई दरबन्दी थप गर्दा अर्की अधिकृत इन्दिरा अर्यालसमेत पदोन्नति हुने भएकी छन्,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले कान्तिपुरसित भने ।
सामान्य प्रशासन मन्त्रालयका उच्च अधिकारीले दुई महिनाअघि उपसचिवको दरबन्दी बढाउने दबाब आएको दाबी गरे । उनका अनुसार थपिएका दरबन्दीमा आन्तरिक प्रक्रियाबाट बढुवा गर्न लोकसेवा आयोगले प्रक्रिया सुरु गरेको छ । ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा अधिकारी र अर्याल बढुवा हुने निश्चित रहेको ती अधिकारीले बताए ।

समाचार

संसद्मा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– संघीय संसद्का महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत गैरकानुनी रूपमा ३ करोड ६९ लाख १७ हजार रुपैयाँ लिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले २०७४/७५ को प्रतिवेदनमा संसद्का महासचिव र कर्मचारीले २०७४ माघदेखि असार मसान्तसम्म गैरकानुनी रूपमा उक्त प्रोत्साहन भत्ता बुझेको उल्लेख गरेको छ ।
कार्यालयले अर्थ मन्त्रालयको स्वीकृतिबिनै गैरकानुनी रूपमा संघीय संसद्मा वितरण गरिएको प्रोत्साहन भत्ता फिर्ता गराउन निर्देशन दिएको छ । अर्थ मन्त्रालयले गत वर्ष माघ १० देखि कुनै पनि निकायमा प्रोत्साहन नदिने निर्णय गरे पनि संसद्का कर्मचारीले माघदेखि असारसम्मको तलबको ८० प्रतिशत बराबर भत्ता लिएका थिए ।
‘अर्थ मन्त्रालयको सहमतिबेगर २०७४ माघदेखि असार मसान्तसम्मको प्रोत्साहन भत्ता ३ करोड ६९ लाख १७ हजार उपलब्ध गराएको छ । यसरी नियमविपरीत उपलब्ध गराएको प्रोत्साहन भत्ता सम्बन्धित कर्मचारीबाट असुल गर्नुपर्दछ,’ प्रतिवेदनमा उल्लेख छ । महालेखाले अघिल्लो आर्थिक वर्ष संसद् सचिवालयमा ७ करोड ४० लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको उल्लेख गरेको छ । बेरुजुमध्ये ३७ प्रतिशत सांसद र कर्मचारीले पेस्कीस्वरूप लगेको रुकम भएको प्रतिवेदनमा जनाइएको छ ।

समाचार

सेनामा भ्रष्टाचार हटाउन आचारसंहिता सप्ताह

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाली सेनाले आर्थिक अपारदर्शिता, चेनअफ कमान्ड उल्लंघन र अनुशासनविपरीत गतिविधि नियन्त्रणका लागि संगठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थाफाले शुक्रबार जंगी अड्डामा आयोजित कार्यत्रममा ‘सैनिक सदाचारको उत्साह’ नारासाथ सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गरे ।
सेनाले प्रत्येक वर्ष पहिलो महिनाको पहिलो साता आचारसंहिता सप्ताह मनाउने घोषणा गरेको छ । यस क्रममा सेनाले सकल दर्जाले गर्नुपर्ने, गर्न हुने/नहुने एवं आर्थिक पारदर्शिता, भर्ना छनोट, राजनीतिक भेटघाट, सार्वजनिक अभिव्यक्ति दिँदा हेक्का राख्नुपर्ने विषयमा मुख्यालयदेखि तल्लो तहसम्म प्रशिक्षण दिने भएको छ । प्रधानसेनापति थापाले कार्यक्रममा आचारसंहितासम्बन्धी पुस्तकसमेत लोकार्पण गरेका थिए । उनले कार्यक्रममा आचारसंहिता हास्यव्यंग्यको पुलिन्दाजस्तो नभएको भन्दै पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिए । ‘सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैंमा विडम्बना र गम्भीर घटना हो, भ्रष्टाचारलगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुनेछैन,’ उनले भने ।
थापाले पुर्खाको बलिदानबाट गौरव गर्न लायक संगठनका रूपमा नेपाली सेना उभिनुपर्ने बताए । ‘सेनाको छवि धुमिल्याउन अझmै केही शक्ति सत्रिय छन्,’ उनले भने, ‘त्यसप्रति सेना सचेत र सतर्क रहनुपर्छ ।’ उनले आर्थिक अनियमितताविरुद्ध संगठनले लिएको शून्य सहनशीलताको नीति जंगी अडडाबाटै सुरु हुने बताए ।
‘आर्थिक अभाव छ भनेर अनियमितता गर्ने छुट कसैलाई छैन, पदोन्नति र शान्ति सेनामा सहभागिताजस्ता विषयमा प्रभावशाली व्यक्तिबाट भनसुन गराई दबाब दिने प्रयास भएमा त्यसको अभिलेख राखिने भएकाले वृत्ति विकासमा पनि त्यसको असर पर्छ । संगठनमा त्यस्तो गलत प्रवृत्ति अझै पनि अन्त्य हुन सकेको छैन,’ थापाले भने । उनले सेना चेनअफ कमान्ड र पद्धतिमा चल्नुका साथै अनुशासन र बलिदानमा मान्यता राख्ने संगठनका रूपमा राष्ट्र र जनहितका खातिर बफादार भई काम गरिरहेको बताए ।

समाचार

नख्खु विस्फोटका आरोपी रिहा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ललितपुरको नख्खुमा भएको विस्फोटमा संलग्न आशंकामा पक्राउ गरिएका नेक्रवित्रम चन्द समूहका नेता सूर्य भुजेललाई सर्वोच्च अदालतले रिहा गरेको छ । फागुन दोस्रो साता एक जनाको ज्यान जाने गरी भएको विस्फोटमा संलग्नता औंल्याउँदै महानगरीय प्रहरी अपराध महाशाखाले भुजेललाई घटनाको तेस्रो दिन कलंकीबाट पक्राउ गरेको थियो । सर्वोच्चका न्यायाधीशहरू अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको हो । महाशाखले भुजेलमाथि कर्तव्य ज्यान, संगठित अपराध र विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा अगाडि बढाएको थियो ।

Page 3
Page 4
वाग्मती प्रदेश

अझै बनेन् स्वास्थ्य भवन

- कान्तिपुर संवाददाता

(हेटौंडा) - जग्गाको अभावले भीमफेदी गाउँपालिकालाई प्रदेश ३ को सरकारले दिएको १ करोड रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको छ ।
पाँच शय्यासहितको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न प्रदेश सरकारले भीमफेदी गाउँपालिकालाई ससर्त अनुदान १ करोड रुपैयाँ उपलब्ध गराएको थियो । ‘प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न जमिनको अभावले गर्दा काम गर्न कठिनाइ भएको हो,’ गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने, ‘भीमफेदी बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र रहेको स्थानमा पुराना भवनहरू छन् । ती भवनहरू भत्काएर उक्त स्थानमा नयाँ भवन निर्माण गर्न सकिन्छ तर पुरातत्त्व विभागले पुरानो भवन भत्काउन रोक लगाएको छ ।’ भीमफेदी गाउँपालिका ६ भीमफेदी बजारमा विक्रम सम्वत् १९६४ सालमा निर्माण गरेको पृथ्वी–चन्द्र अस्पतालको भवन रहेको छ । उक्त भवनवाट २०७२ सालको भूकम्प जानु भन्दा अगाडिसम्म स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो । भूकम्पले उक्त भवन चिराचिरा बनाएपछि उक्त भवनवाट स्वास्थ्य सेवा बन्द गरिएको छ । भवन रहेकै स्थानमा वरिपरिका खाली जग्गामा साना/साना टहराहरू वनाएर प्राथमिक स्वास्थ्य केन्द्रले आफनो सेवालाई निरन्तरता दिँदै आएको छ ।
एक सय ११ वर्षअघि बनेको उक्त जीर्ण भवनलाई भत्काएर उक्त स्थानमा अर्को भवन बनाउन गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको छ तर पुरातत्त्व विभागले गाउँपालिकालाई उक्त भवन भत्काउन रोक लगाएको छ । ‘पुरातत्त्व विभागका कर्मचारी नै गाउँपालिकामा नै आएर यो भवन पुरातात्त्विक भवन भएकाले नभत्काउन अनुरोध गरेका छन्,’ गापा अध्यक्ष लामाले भने, ‘यो भवन नभत्काएसम्म अर्को भवन बनाउने जग्गा छैन ।’ भूकम्पले चिरा परेको उक्त भवन ८ रोपनी जग्गाको मध्य भागमा छ । उक्त भवन नभत्काएसम्म अर्को बनाउन सकिँदैन । पुनर्निर्माण प्राधिकरणले उक्त भवन जोखिमयुक्त भएकाले तत्कालै भत्काउनुपर्ने गापालाई सुझाव दिएको छ ।
‘पुरातत्त्व विभागले भत्काउन रोक लगाउने र पुनर्निर्माण प्राधिकरणले छिटै भत्काउन सुझाव दिने यस्तो दुई थरी कुराले गर्दा गाउँपालिकामा ५ शय्याको अस्पताल भवन नबन्ने भयो,’ लामाले भने, ‘जग्गाको अभावले गर्दा प्रदेशले दिएको एक करोडको रकम पनि फ्रिज हुने भो ।’ मकवानपुरको पुर्व सदरमुकाम भीमफेदी वजार त्रिभुवन राजपथ निर्माण हुनु अघि राजधानी र तराई आवत–जावत गर्ने मुख्य नाका थियो ।
सिकार खेल्न आउने त्यतिवेलाका राणा एवं राजाहरू भीमफेदी आएर बस्दथ्ये । त्यसैले औषधि उपचार गर्नका लागि एक सय ११ वर्षअघि भीमफेदीमा पृथ्वी चन्द्र अस्पताल स्थापना गरेको हो । ०७२ को भूकम्प भन्दा अघिसम्म उक्त भवनमा नै प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको थियो । २०२० सालदेखि सरकारले भीमफेदीस्थित उक्त अस्पताललाई स्वास्थ्य केन्द्रको रूपमा परिणत गरेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।

वाग्मती प्रदेश

४ वर्षमा ६० हजार घर

पुनर्निर्माणमा निर्माण सामग्रीको महँगी, भौगोलिक विकट, आर्थिक अभावजस्ता समस्याले आवास निर्माणमा कठिनाइ
- अनिश तिवारी
एकै रंगका जस्ताले सिँगारिएको भोटेकोसी गाउँपालिका लिस्तीकोटको छगाम गाउँस्थित आनीका घर । तस्बिर ः अनिश/कान्तिपुर

(सिन्धुपाल्चोक) - भूकम्प गएको चार वर्षपछि स्थानीय तहको समन्वयपछि सिन्धुपाल्चोकमा पुनर्निर्माणले केही फड्को मार्न थालेको छ ।
अहिलेसम्म पहिचान गरिएका ८८ हजार दुईसय ४९ भूकम्पपीडितमा ६१ हजार ४ सय भूकम्पपीडितले आवास निर्माण सकेका हुन् । ‘स्थानीय तहको सहजीकरणपछि पुनर्निर्माणले केही गति लिन लागेको देखिन्छ, गाउँबस्ती चिटिक्क बन्दै छन्,’ जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख जयप्रकाश गुप्ताले भने । तीन नगरदेखि नौ गाउँपालिकाले सडक सञ्जालमा वडालाई जोडिदिएपछि जिल्लाभर पुनर्निर्माण तीव्र रूपमा भइरहेको उनले सुनाए ।
‘गुनासो थपिएपछि लाभग्राही बढ्दै छन्, गुनासो सम्बोधन भइरहेको छ,’ उनले भने । पहिरोको जोखिममा भएका केही स्थानबाहेक अन्य स्थानमा पुनर्निर्माणले गति लिँदै गइरहेको उनले प्रस्ट्याए । बजारभन्दा गाउँक्षेत्रमा भूकम्पपीडितले ऋण गरेर भए पनि आवास ठड्याइसकेको अनुगमनमा पुगेका प्राविधिक बताउँछन् । पुनर्निर्माणमा निर्माण सामग्रीको महँगी, भौगोलिक विकट, आर्थिक अभावजस्ता समस्याले आवास निर्माणमा कठिनाइ भएको भूकम्पपीडितको गुनासो छ ।
‘सरकारले दिएको अनुदानले घर बनाउन सहज बनाएको छ, सबै स्थानमा एउटै समयसीमा राख्नु भूकम्पपीडितमाथि अन्याय हो,’ हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले भने । हेलम्बु, पाँचपोखरी, जुगल क्षेत्रजस्ता दुर्गम भेगमा भूकम्पपीडितलाई आवास बनाउन एउटै समय राख्दा समस्या देखिएको उनले बताए । ‘सबैको आर्थिक हैसियत एकै नहुने अवस्थालाई पनि हेरिनुपर्छ,’उनले भने । जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का सुजन केसीका अनुसार लाभग्राहीमध्ये ८५ हजार ५ सय २३ ले सम्झौता सकेर पहिलो किस्ता लगिसकेका छन् । भने ७९ हजार ३ सय ३८ ले दोस्रो र ६१ हजार चारसय २५ जनाले तेस्रो किस्ता पाइसकेका छन् ।
‘अहिले ७ हजार ८ सय ९२ परिवारको गुनासोको सर्वेक्षण विवरण संकलन कार्य हुने तैयारी भइरहेको छ,नगर र गाउँपालिकामा तीन प्राविधिक खट्द छन्,’ उनले भने । तीन नगरदेखि नौ गाउँपालिकाको प्रत्येक वडास्तरीय गुनासो सुनुवाइ समितिसग समन्वय गरेर गुनासो जम्मा गरिरहेको उनको भनाइ छ । यसैगरी पहिरोको जोखिममा रहेका भोटेकोसी गाउँपालिकाको लिस्तीकोट पाउगुम्बा, तार्तुङ,झिर्पू,दुगुना बाह्रबिसे नगरको गाती सिर्गाचेजस्ता दर्जनौं क्षेत्रमा अझै पहिरोको समस्या देखिएको छ । अन्य स्थानमा धमाधम पुनर्निर्माण भइरहेको भए पनि पहिरोमुनि घर बनाइरहेका भूकम्पपीडितको विषयलाई लिएर अन्यौलता देखिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ । ‘पहिरोको समस्याले पुनर्निर्माणको सवालमा चुनौती खडा गरेको छ, यसबारे व्यापक छलफल भइरहेको छ,’ जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) प्रमुख गुप्ताले भने । उनले पहिरोमुनि जोखिममा एक सय ५४ परिवारले घर बनाएपछि यसबारे के गर्ने निर्क्यौलमा पुग्न नसकिएको उनले प्रस्ट्याए ।

वाग्मती प्रदेश

सुल्झिँदै बिर्ता समस्या

- कान्तिपुर संवाददाता

(रसुवा) - कालिका गाउँपालिकाले बिर्ता समस्या गैरकानुनी भएको ठहर गर्दै समाधान गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेश तथा संघीय सरकारले बिर्ता जग्गाको लालपुर्जा बदर गरी किसानलाई जोतभोगको आधारमा लालपुर्जा नदिएमा गाउँपालिका आफैंले लालपुर्जा बनाएर वितरण गर्ने जनाएको हो । आफ्नो क्षेत्रभित्र रहेको बिर्ता समस्या समाधान गर्ने प्रतिवद्धतासहित पालिकाले ३ बुंदे घोषणापत्र पनि जारी गरेको कालिका गाउंपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए । ‘कालिका गाउंपालिकाको ५ मध्ये ४ वटा वडामा बिर्ता समस्या अझैं बाँकी छ,’ उनले भने ।
नेपालमा बिर्ता प्रथा उन्मूलन भएको करिब ६० वर्ष पुग्न लाग्यो । तर जिल्लाका किसान भने अझै बिर्ता जग्गासम्बन्धी समस्या झेलिरहेका छन् । कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाका करिव १ हजार परिवार बिर्ता समस्याबाट पीडित छन् । जिल्लामा करिब १ हजार ४ सय ६९ रोपनी बिर्ता छ । उक्त जमिन करिब ४० बिर्तावालको नाममा रहेको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले विसं. १८०१ मा नुवाकोट जितेपछि आफूसँगै आएका नातेदार र सहयोगीलाई रसुवा र नुवाकोटका विभिन्न ठाउँका खेतीयोग्य जमिन बिर्ताको रुपमा बाँडेका थिए ।
पुस्तौंदेखिको बिर्ता समस्या अहिलेसम्म पनि समाधान हुन सकेको छैन् । किसानहरू जमिन जोतिरहेका छन् । त्यहींबाट हुने उब्जनीले जीवन धानिरहेका छन्, । उक्त जमिनको स्वामित्व नहुँदा किसान मर्कामा परेका छन् । किसानका नाममा जग्गाको स्वामित्व नहुँदा विभिन्न समस्या भोग्न परेको उनीहरू बताउँछन् । कालिका गाउँपालिकाले भूमि सुधारसम्बन्धी विशेष घोषणा कार्यक्रम आयोजना गरी लामो समयदेखि थाती रहेको बिर्ता समस्या समाधान गर्ने गाउंपालिका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीले बताइन् । ‘किसानको आन्दोलनमा पालिकाले साथ दिन्छ,’ उनले भनिन् । रसुवा जिल्लामा रहेको बिर्ता जग्गा ‘ख’ श्रेणीको बिर्ता हो । विर्ता उन्मुलन ऐन २०४९ को संशोधनमा यस्तो जग्गा २०४९ असार मसान्तपछि कुनै विर्तावालाको नाममा दर्ता गर्न नपाउने र यदी दर्ता भए पनि मान्यता हुंदैन भन्ने स्पष्ट कानुनी व्यवस्था छ । कानुनतः यस्तो व्यवस्था रहेपनि शक्तिका आडमा बिर्तावालले मालपोत कार्यालयसंग मिलेमतो गरी गैरकानुनी तवरले २०६३ सम्म पनि लालपुर्जा बनाई लगेको पीडित किसानहरू बताउँछन् । जग्गाको स्वामित्व लिनको लागि पिडित किसानले विगत १२ वर्षदेखि संघर्ष गरिरहेका छन् ।
अझै पनि समस्या समाधान हुन नसकेकोमा किसानहरू चिन्तित भएका छन् । देशमा गणतन्त्र आउंदासमेत आफूले खनजोत गरेको जग्गाको स्वामित्व लिन सर्घष गर्नुपरेकोमा किसानहरूको दुखेसो छ । सरकारले किसानको पक्षमा उचित निर्णय गर्न नसकेको गुनासो उनीहरूको छ । किसानले जोतभोग गर्दै आएको जग्गा बिनासर्त आफ्नो नाममा लालपुर्जा नदिए थप आन्दोलन गर्ने किसानहरूले बताएका छन् ।

वाग्मती प्रदेश

सामुदायिक भवन प्रयोगमा नआउँदै जीर्ण

- कान्तिपुर संवाददाता

नुवाकोट (कास)– पालमुनि बसेका सर्वसाधारणलाई पक्की छानामुनि राख्ने सरकारको निर्णय अनुसार बनाइएका सामुदायिक भवन प्रयोगमा नआउँदै जीर्ण भएको छ ।
म्यागङ गाउँपालिका १, बर्सुन्चेत स्थित मेघाङचौरमा बनाइएको सामूहिक आवास भवन उपयोगविहीन भएको छ । सेनाको श्रीनाथगणले गत असार १३ गते भवन समुदायलाई हस्तान्तरण गरेको थियो । यहाँ २ भवनमा भान्सासहित १२ कोठा, महिला र पुरुषका लागि छुट्टाछुटै शौचालय तथा स्नानघर छन् । सेनाले उक्त भवनभित्रका कोठा माटोले लिपपोत गरी बनाएको छ । भवनको पिंढीमा दाउराले खाना पकाउने चुलो छ । भवनभित्र वर्षाको पानी नछिरेकाले ओभानो छ । भवनको बाहिर बनाएका भान्सामा घाँस उम्रिएका छन् । केही शौचालयमा घाँसदाउरा गर्नेहरूले फोहोर गरेका छन् केहीमा ताला लगाइएको छ । तालामा खिया लागेको छ । भवनसम्म जाने कच्ची सडक छ । भवन जंगलको बीचमा छ । भवनदेखि १५ मिनेट पैदल दूरीमा हस्तबहादुर घले (लालु) को मात्र घर छ । उनको घर नजिकैको करेसाबाट बर्सन्चेत जाने कच्ची सडक भेटिन्छ ।
‘त्यतिबेला मेरै बारीको जग्गामा भवन बनाउन सेनालाई अनुरोध गरेको थिएँ,’ घलेले भने, ‘स्थान तोकिएको र जमिन खार्न पर्दा ढिलो हुने भनेपछि माथि बनाए । उपयोगमा आएन ।’ उक्त भवन बर्सुन्चेतवासीलाई लक्षित गरी बनाएको थियो । उनीहरूलाई उक्त भवनसम्म पैदल आउन झन्डै दिनभरिको बाटो लाग्छ । नजिक पर्ने म्यागङगाउँ र किम्ताङवासीलाई पनि पायक पर्ने स्थानमा भवन छैन । उक्त भवन स्थानीय सामग्री, जस्तापाता, प्लाई प्रयोग गरिएको छ । तत्कालिन अवस्थामा सेनाले आफूलाई दिएको जिम्मेवारी स्वरुप भवन निर्माण गरी समुदायलाई दिएको जनाएको थियो ।
जिल्ला दैविक प्रक्रोप उद्धार समितिको सिफारिस गरेका स्थानमा नेपाली सेनाले सामुहिक आवास निर्माण गरेका थिए । ती सामुहिक आवास भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको बताइएको छ । श्रीनाथ गणले नुवाकोटमा ४ वटा सामुदायिक भवन बनाई स्थानीय तहलाई हस्तान्तरण गरेका थिए । बुधसिङ वडा नम्बर ४ को चण्डी माविको पुरानो चौरमा आठकोठे र ककनीगाउपालिका १ ओखरपौवाको कागती गाउँमा पनि ८ कोठे भवन निर्माण गरी स्थानीय निकायलाई दिएको थियो ।

Page 5
उपत्यका

औषधि कमको विधि

नेपालमा होमियोप्याथीको पढाइ छैन, जबकि बिरामीहरू यसप्रति आकर्षित छन्
- विमल खतिवडा

(काठमाडौं) - मोरङ, शनिश्चरेकी ४२ वर्षीया सबु अधिकारी राजधानी बस्न थालेको दुई दशक हुन लाग्यो । तर, उनले सधैंसधैं रोगसँग पौंठेजोरी खेल्नुपर्‍यो । अनेक अस्पताल, उपचार विधि र औषधिको भरमा उनको पौंठेजोरी चलिरहृयो । कुरो ०६२ सालको हो । पहिलो सन्तानको रूपमा छोरा जन्मिएको एक वर्ष मात्र भएको थियो । परिवारमा सबै दंग थिए । तर खुसीसँगै बिस्तारै पीडा थपिँदै गयो । उनको दाहिने काखी नजिकै सानो गिर्खा देखा पर्‍यो । गिर्खाले दुखाई बढाउँदै लग्यो । उपचारका लागि टिचिङ हस्पिटल पुगिन् । चिकित्सकले इन्जेक्सनबाट पानी निकालेर जाँच गरे । रिपोर्टमा ‘ग्ल्यान’ टीबी देखियो । चिकित्सककै सल्लाहमा औषधि चलाइयो । ६ महिनासम्म औषधि खाँदा न रोग ठिक भयो, न उनी तन्दुरुस्त बन्न सकिन । अस्पताल मात्रै लगातार धाइरहिन् । सबुका छोरा १५ वर्ष र छोरी ५ वर्षकी छिन् । उनका श्रीमान् कतारमा छन् ।
‘औषधि मात्र थपी रहे,’ उनी पीडा सुनाउँदै भन्छिन्, ‘न रोग ठिक पारे, न यो रोग नै लागेको हो भनेर भनिदिए ।’ रोग निको हुनुको सट्टा उल्टै थपिँदै गयो । गिर्खा नजिकै पाक्न थाल्यो । लामो समयसम्म उपचार गर्दा पनि ठिक नभएपछि टिचिङमै गिर्खाको अप्रेसन भयो, तैपनि ठिक भएन ।
‘यही रोग हो भनेर कसैले पनि किटान गर्न सकेनन्,’ उनले भनिन्, ‘धेरै औषधि खाएर झन्डै ज्यान गयो ।’ काठमाडौंमा उनी नपुगेको अस्पताल सायदै होलान् । ‘बिहान ६ बजेदेखि बेलुकासम्म औषधि मात्र खाएकोखायैं हुन्थें,’ उनी भन्छिन्, ‘यही औषधिले आँखा कमजोर बनायो, शरीरका विभिन्न भागमा उल्टै घाउ भएर पाक्यो, शरीर फुलेर कमजोर बन्यो ।’ पछि घाँटीमा टन्सिलजस्तो भएर पाक्यो । काठमाडौं मेडिकल कलेजमा अप्रेसन गराइन् । ०६७ सालसम्म औषधि खान छाडिनन् । सामुमा रिपोर्टको चाङ थियो । औषधिको खोलले झोला भरिएका थिए । उनले थपिन्, ‘डाक्टर औषधि मात्र लेख्न तयार हुन्छन्, रोग के हो भनेर पत्ता लगाउनै सक्दैनन् ।’


पछि चिनारु र जानकारसँग
बुझ्दा थाहा लाग्यो, टीबी रोग त बढीमा १ वर्षसम्म औषधि खाएमा निको हुने रहेछ । तर, सबुका हकमा औषधिको प्रयोग मात्रै भइरहृयो । त्यही बेला एउटा सुझावमा भर परेर उनले होमियोप्याथी उपचार गर्ने निधो गरिन् । रेडियो विज्ञापन सुनेर उनी पुरानो बानेश्वरको सञ्जीवनी क्लिनिक पुगिन् । उनले आफ्नो समस्या सुनाइन् । ६ महिना औषधि खानासाथै उनको रोक बिसेका भयो, उनी अहिले राम्ररी हिँड्न सक्ने भएकी छन् । घाउ पाक्न छोडेको छ । सबुले आफ्नो उपचारमा मात्रै बितेको ५ वर्षमा ७ लाख रुपैयाँ खर्च गरेकी रहिछन् । सर्लाही बबरगन्जका राज महतोको कथा पनि यस्तै छ । उनलाई बायाँपट्टिको घुँडा पछाडिको नशा दुख्ने गर्थ्यो । छिनभर पनि भुइँ, कुर्सीमा बस्न सक्दैन थिए । ‘जोडले सास फेर्दा वा खोक्दा पनि दुख्थ्यो,’ उनी भन्छन्, ‘हिँड्दा पनि दुख्थ्यो, सारै समस्या भएपछि अस्पताल पुगे, दुखाइ कम हुने औषधि दिएर फिजियोथेरापी गराए, ठिक हुन सकिनँ ।’ उनले काठमाडौं आएर नोबेल अस्पताल, न्युरो अस्पताल सबैतिर परीक्षण गराए ।
साथीभाइको सल्लाहमा उनी एक दिन भक्तपुरस्थित होमियोप्याथी क्लिनिक पुगे । त्यहाँ चिकित्सक डा. अम्बिका ज्ञवालीलाई उनले रोगको पोको फुकाए । डा.ज्ञवालीले थोरै औषधि लेखिदिए, नभन्दै यही औषधि रामबाण बन्यो । ‘सुरुमा गाडीमा लामो यात्रा गर्न सक्दिन थिए, बाध्य भएर गरे पनि बेल्ट बाँधेर पीडा सहँदै हिंड्थे,’ उनी भन्छन,‘ अहिले औषधि खानुपरेको छैन, कष्ट सहेर हिंड्नुपर्ने बाध्यता टरेको छ ।’
ललितपुर झम्सीखेलकी सिर्जना पोखरेल शिवाकोटीको घरपरिवारमै चिकित्सक धेरै छन् । त्यही भएर उनका लागि पहिलो उपचार भनेको ‘एलियोपेथिक’ थियो । तीन वर्षअघि उनमा एकाएक ‘जोइन्ट पेन’ बढेको रहेछ, आँखाको इन्फेक्सनलगायत ४/५ वटा इन्फेक्सन देखिएको रहेछ । यसका लागि अलग अलग औषधि खादै गइन् । जति औषधि खाए पनि निको भएन । शरीरमा भिटामिनको मात्रा पनि क्रमशः कमी हुँदै गयो ।
‘दुखाइले गर्दा बीचमा स्मृति गुमाएजस्तो पनि भयो,’ उनले पुराना कुरा सम्झँदै भनिन्, ‘मिटिङमा बस्ने मान्छेको नाम नै बिर्सिने, एउटा कुरा भन्न खोज्ने अर्को कुरा आउनेसम्म स्थिति उब्जियो ।’
एकजना साथीले होमियोप्याथी उपचारमा जान सल्लाह दिएपछि सिर्जना पनि यता लागेकी रहिछन् । ‘होमियोप्याथीमा जाँदा ठिक हुन्छ भन्ने विश्वास थिएन, साथीले भनेपछि गएकी हुँ,’ उनले भनिन् । चिकित्सक डा.अम्बिका ज्ञवालीले दिएको एउटा औषधिले केही दिनमैं दुखाइ कम हुँदै गएको र एलर्जी कफ पनि हटेको अनुभव उनीसँग छ ।
‘कहिलेकाहीं सर्जरी गर्नैपर्ने हुन्छ, त्यो बेला होमियोप्याथीले तुरुन्त रिलिफ गर्दैन,’ उनले भनिन्, ‘यस्तो अबस्था इमर्जेन्सी पर्दा एलियोपेथीमा पनि जानुपर्छ ।’ पहिला एलियोपेथिक औषधि खाने उनमा लतजस्तै थियो, होमियोप्याथीले गर्दा अहिले औषधि खाने बानी हटेको रहेछ । ‘नेपालमा होमियोप्याथीको स्कोप छ,’ उनले भनिन्, ‘यसमा साइड इफेक्ट भेटेको छैन ।’ भक्तपुर होमियोप्याथी क्लिनिकका डा. ज्ञवालीका अनुसार एलियोपेथिकमा लक्षणअनुसार निद्रा नलाग्दा, भोक नलाग्दा अथवा टाउको दुखेमा अलगअलग औषधि खानुपर्ने हुन्छ । होमियोप्याथीमा सबैको एउटै ‘साझा संकेत’ बनाएर एउटै औषधि दिँदा हुन्छ । ‘यस्तो औषधिले रोगको विरुद्ध काम गर्ने शरीरभित्रको पद्धतिलाई सहयोग गर्छ,’ उनले भने, ‘कम औषधि प्रयोग हुने विधा भनेकै होमियोप्याथी हो । हामीकहाँ एलोप्याथीबाट उपचार सम्भव नभएकाहरू बढी आउनुहुन्छ ।’ उनका अनुसार मानसिक कारणले हुने बिरामी, पेट दुख्ने, स्त्री रोग, ज्वाइन्ट, बच्चाहरूमा हुने निमोनिया, वृद्धवृद्धामा हुने दम, बाथ, सुगर, प्रेसरका बिरामी यहाँ आउने गर्छन् ।
यसको सुविधा सरकारी तहमा ललितपुरको हरिहर भवनमा छ । निजी तहमा भने विभिन्न जिल्लामा छन् । ‘यो पद्धति आवश्यक छ, एलोपेथिक मेडिसिनको विकल्प होमियोप्याथी होइन,’ डा.ज्ञवालीले भने । ‘होमियोप्याथीमा कम औषधि र साइड इफेक्ट छैन,’ उनले भने, ‘सरकारले उचित प्राथमिकता दिएको छैन ।’
डा.ज्ञवालीका अनुसार, होमियोप्याथीको उपचार जर्मनीबाट सुरु भएको हो । भारतमा ५ लाख जति होमियोप्याथिक डाक्टर छन् । नेपालमा भने यसको पढाइ छैन । ‘जति चिकित्सक छन, बाहिर पढेर आएका छन्,’ उनले भने, ‘भारतमा ३७ प्रतिशतले होमियोप्याथिक उपचार पद्धति प्रयोग गर्छन् ।’ होमियोप्याथिक अन्तर्राष्ट्रिय तहको २७ औं सम्मेलन शनिबार काठमाडौंमा सुरु हुँदै छ ।

उपत्यका

जमिन आधा सडक, आधा नदीमा

- दामोदर न्यौपाने

(काठमाडौं) - पच्चीस वर्षअघि कित्ता नम्बर २६९ को जमिन विष्णुमाया पुडासैनीको नाममा थियो । अधिकार सम्पन्न एकीकृत वाग्मती आयोजना लागू भएपछि यो ११३१ र ११३२ गरी दुई कित्तामा विभाजन भयो । कित्ता नम्बर ११३१ सडकमा पर्‍यो । ३१३२ खोलातिर पर्‍यो । सडकतिर परेको जग्गाको मुआब्जा पाए । खोलातिर परेको पाउन उनका नाति रमेश पुडासैनी वाग्मती छेउकै खाली ठाउँमा धर्ना बसेका छन् । ‘हजुरआमा बितिसक्नुभयो । जग्गा हजुरआमाकै नाममा छ,’ रमेशले भने, ‘मुआब्जाको लागि हजुरबा पुस्ता लड्नुभयो । बुबाको पुस्ता पनि लड्यो । अब हामी नाति पुस्ता पनि लडिरहेका छौं ।’
काठमाडौं नगरपालिका ६ बौद्ध ‘क’ मा पर्छ यो जग्गा । दुवै कित्तामा गरी २ रोपनी जग्गा थियो । त्यसमध्ये ४ आनाको मात्रै मुअब्जा पाएको रमेशले बताए । ‘१३ आना खोलामा छ,’ रमेशले भने, ‘पाएको पनि अत्यन्त कम मूल्यांकन गरी दिइयो ।’ गोठाटारका पुण्यप्रसाद रिजालको चाहिँ ३ कित्ता जग्गा परेको छ । कित्ता नम्बर १३८ बाट १ रोपनी ९ आना, कित्ता नम्बर १३९ बाट २ रोपनी ३ आना, कित्ता नम्बर ३२५ बाट १० आना जग्गा परेको रिजालले बताए । ‘सबै कित्ता गरेर ४ रोपनी परेको छ,’ उनले भने, ‘त्योमध्ये एक रोपनीको मात्रै मुआब्जा पाएको छु । मुआब्जा पनि अत्यन्त कम मूल्यमा पाइयो ।’
प्रतिआना ३ लाख ५० हजार र ३ लाखका दरले मुआब्जा निर्धारण गरिएको थियो । पुडासैनी र रिजालजस्ता समस्या भोग्ने २ सय ९५ परिवार छन् । यी परिवारका १ सय ८८ रोपनी मुआब्जा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले दिन बाँकी छ । वाग्मती नदी संरक्षण तथा जलप्रवाह शुद्धीकरण गर्ने उद्देश्यसहित २०५१ मा पशुपति क्षेत्र वातावरण तथा सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन भएदेखि नै समस्या सुरु भएको रिजाल बताउँछन् । यो समितिको अधिकार क्षेत्र सीमित भएको भन्दै त्यसको १ वर्षपछि अधिकार सम्पन्न वाग्मती क्षेत्र ढल निर्माण/सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समिति गठन भयो ।
त्यही समितिको नाम परिवर्तन गरी अहिले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति बनाइएको हो । समितिले वाग्मतीको दायाँबायाँ करिडोर बनाउने, बीचमा बगैँचालगायत संरचना बनाएर सौन्दर्यकरण गरिरहेको छ । वाग्मती नदीको उद्गमस्थल शिवपुरी जलाधारदेखि चोभारसम्मको भागलाई स्वच्छ, सफा राख्न नदीको किनारमा ढल निर्माण, फोहोर पानी प्रशोधन केन्द्र निर्माण, नदी किटान नियन्त्रण, तटबन्ध निर्माण, आवश्यकताअनुसार सडक निर्माण र हरित क्षेत्र निर्माण, उपत्यकाका नदीनाला स्वच्छ सफा राख्ने उद्देश्य समितिको छ ।
यही उद्देश्यअनुसार गुह्येश्वरीदेखि गोकर्णसम्म वाग्मतीको दुवै किनारमा तटबन्ध निर्माण गरी हरियाली क्षेत्र र सडक निर्माण गर्ने काम भइरहेको छ । सडकका लागि १२ मिटर र हरित क्षेक्रका लागि ८ मिटर छुट्याइएको छ । सौन्दर्यकरण गर्ने त्रममा सडकमा परेका जग्गाको मुआब्जा दिएको छ । नदीपट्टि परेको जग्गाको भने अधिकरण नै नगरी काम गरिरहेको छ । ‘काम सकिन लाग्यो,’ वाग्मती पीडित संघर्ष समिति अध्यक्ष दर्शन पुडासैनीले भने, ‘काम सकिन लाग्दा पनि जग्गा अधिकरण गरिएको छैन । त्यही भएर हामीले सौन्दर्यकरण गर्ने सबै काम रोकिदिएका छौं ।’
समितिले वाग्मतीको सौन्दर्यकरण गर्ने क्रममा नदीको धारै परिवर्तन गरिदिएको थियो । धार परिवर्तन गर्ने क्रममा स्थानीयको जग्गा परेको थियो । तिरो तिरिरहेको जग्गालाई नदीको बहाव क्षेत्रमा पारिएको थियो । समिति सदस्यसचिव आशिष घिमिरेका अनुसार बहाव क्षेत्र परिवर्तन गर्दा र नदीको चौडाइ बढाउँदा व्यक्तिको जग्गा परेको छ । उनका अनुसार बहाव क्षेत्रमा परेकामध्ये ५ सय ८५ रोपनी जग्गा अधिकरण गरी मुआब्जा दिइएको छ । २०२१ सालको नक्साअनुसार खोलाको अधिकतम चौंडाइ १५ मिटर थियो । समितिले यसलाई पनि बढाएर ४० मिटर बनाएको थियो ।
मुआब्जा विवाद सल्टाउन समय–समयमा समितिसमेत बनेका छन् । ती समितिले जग्गा अधिकरण नगरी काम अघि बढाउनुलाई विभिन्न समयमा गठन भएका अध्ययन समितिले समेत गैरकानुनी र प्रक्रिया नपुर्‍याई गरिएको काम भनेर प्रतिवेदन बुझाएका छन् । २०६५ मा कृष्णप्रसाद लम्सालको संयोजकत्वमा उपसमिति बनेको थियो । उपसमितिले समितिको नीतिगत निर्णयका कारण नदीको बहाव क्षेत्र चौडाइ बढ्न गएकाले नदी उकास क्षेत्रको जग्गा अधिग्रहण गर्न सुझाव दिएको थियो । मुआब्जा दिने स्पष्ट कानुनी आधार नभएकाले दिने नीति निर्माण गर्न सरकारमा प्रस्ताव लैजान सुझाव दिएको थियो ।
२०६७ मा जितबहादुर थापाको संयोजकत्वमा अर्को उपसमिति बन्यो । उससमितिले गोकर्ण गुह्येश्वरी खण्डको तटबन्धमा पर्ने व्यक्ति विशेषको दर्ता स्रेस्ता कायम रहेको जग्गाको क्षतिपूर्ति र मुआब्जा दिने निर्णय गर्न भौतिक योजना तथा निर्माण मन्त्रालयसमक्ष प्रतिवेदन दिने निर्णय गरेको थियो । उपसमितिले अध्ययन गरी जग्गाको अवस्था पनि छुट्याएको थियो । उपसमितिले जग्गालाई क, ख र ग वर्गमा विभाजन गरेको थियो । पूरै खोलामा परेको जग्गालाई क वर्गमा राखेको थियो । यस्ता जग्गा ४१ रोपनी ९ आना, २ पैसा २ दाम छ । केही अधिग्रहणमा परी बाँकी खोलामा परेका जग्गलाई ख वर्गमा राखिएको छ ।
यस्तो जग्गा १ सय १ रोपनी, ३ आना ३ दाम छ । केही अधिकरण भएको, केही खोलामा र परेको र केही घडेरीसमेत रहेको जग्गालाई ग वर्गमा राखिएको छ । यस्तो जग्गा ४५ रोपनी ८ आना, १ पैसा २ दाम रहेको छ ।

Page 6
विविधा

नोत्रदामको कुम्भे र सिम्फोनी

समय रेखा
- अभि सुवेदी

 

नयाँ वर्ष २०७६ बैसाख ३ गतेको रात । प्यारिस नगरमा ठूलो साँझ परेपछि ८५० वर्ष पुरानो सेन नदीको किनारमा रहेको मध्ययुगिन कथिड्रल वा गिर्जाघर नोत्रदाम जलिरहेको दृश्य बीबीसीमा देखेपछि मैले आफ्ना पढ्ने, लेख्ने सबै काम बन्द गरेंँ । अनि जर्मन दार्शनिक इम्मानुअल कान्टले भनेजस्तो डर उजागर भयो, मन विचलित । अनि कल्पनाशील भएँ । कान्ट त्यसैलाई ‘सब्लाइम’ भन्छन् क्यारे । टिभीमा भयानक दृश्य देखिनु स्वाभाविक हो । यो मानिस सशरीर हताहत भएको दृश्य थिएन । यो नरसंहार गर्ने मानिसको करतुत वा कुनै आतङ्क पनि थिएन । यो कथा एउटा कथिड्रलको हो, जसको उपस्थिति मानव सिर्जना– अमूक काव्य, सङ्गीत वा चित्रकला जस्तो हो, जसलाई सबै धर्म र विश्वास लिएकाहरूले मानवताको साझा रचनाको रूपमा मानेर आएको इतिहास छ ।
मलाई २०७२ सालको महाभूकम्पमा भत्केका र चिरा परेका यस्तै प्राचीन कलात्मक कलेवरहरूको सम्झना भयो । नोत्रदाम भन्दा पनि कतिपय पुराना सांस्कृतिक सम्पदा, परम सुन्दर काष्ठकलाका रचना, पत्रेदार पेगोडाका छाना अनि प्रस्तर मूर्तिहरू त्यस महाप्रलयमा क्षतिग्रस्त भए, तिनको जीवन्त तस्बिर मनमा आए । भूकम्प गएको भोलिपल्ट भक्तपुर दरबार परिसरमा गएर आफूले खिचेका र मेरा विद्यार्थीले खिचेका म सहितका चित्रहरूमा एउटा निर्वैयक्तिक हुन नसकेको पीडाका अभिव्यक्ति देखेँं । जब यस्ता सम्पदा नष्ट हुन्छन्, त्यसबेला सबैमा सिर्जनशील चिन्ता जन्मिने रहेछ । त्यो हो, अब यी सबै फेरि पुरानै आकारमा आउनेछन्, विनाशमा झन् उजागर हुनेछन् भन्ने मानव सिर्जनाको विश्वास र मनस्थिति । त्यो मनस्थितिभन्दा अर्को पनि एउटा तर्क छ, जुन नोत्रदामलाई आगोले खाएपछि अंग्रेजी र फ्रान्सेली पत्रिकाहरूमा पढेंँ । म यहाँ ब्रिटेनको यता पनि आइबस्ने द इकोनोमिस्ट (१७ अप्रिल २०१९) मा लेखिएका केही विश्लेषणका सार राख्न चाहन्छु । ती विचार मलाई अत्यन्त सटिक र वाचाल लागेकाले यहाँ राखेको हुँ ।


द इकोनोमिस्ट लेख्छ, ‘५० वर्षअघि बीबीसी
शृङ्खलामा कला समीक्षक केनेथ क्लार्कले भनेका थिए– कला के हो भनेर कसैले सोधे म भन्छु, मलाई थाहा छैन । तर म यसलाई देखेपछि भने चिन्न सक्छु । अहिले म नोत्रदामलाई देख्दैछु । म यसलाई चिन्छु ।’ क्लार्कले भनेजस्तो बस् त्यत्ति हो त कला चिन्नु ? म आफैं पनि कला समीक्षा गर्छु । मलाई लाग्छ, देख्न सकिन्छ, सजिलै परिभाषा गर्न सकिंँदैन, कला । भक्तपुर परिवेशमा मैले आफैं नाटकहरू लेखेका भग्न भएका थलामा गएपछि मेरा विद्यार्थीले सोधेका थिए, ‘के भन्नुहुन्छ, यी भत्केका सम्पदाबारे ?’ मैले पनि त्यस्तै भनेको थिएँ, ‘म अहिले यिनलाई देख्दैछु, तिमीहरू पनि देख्दैछौ । यी यस्ता अवस्थामा छन्, जसले हल्लाउँछ, भावना जगाउँछ, तर यिनको व्याख्या गर्न सकिंँदैन ।’ द इकोनोमिस्टका समीक्षक लेख्छन्, ‘यो कथिड्रलका गजुरहरू झर्दै गरेको देख्नु अत्यन्त चिमोट्ने विषय हो र यो अत्यन्त गहिरो मानवीय शोक हो, खासगरी यो एक्काइसौं शताब्दीमा ।’ तिनले एक्काइसौं शताब्दीे अनि मानवीय तत्त्व जोडेको अर्थपूर्ण छ । यो शताब्दी आरम्भदेखि नै ठिक बाटोमा मानवतालाई लाने किसिमको देखिँंदै छैन ।
ती भन्छन्, ‘भवनभन्दा पनि त्यसलाई गुमाउनुले जगाएका भावना र पीडा बलिया छन् । नोत्रदाम मानिसहरूको सामुहिक उच्चताको अभिव्यक्ति हो ।’ ती थप्छन्, ‘माथि सिलिङतिर हेर । ती अज्ञात हजारौं प्रतिभाशाली कलाकार र शिल्पीहरूले डेढ सय वर्ष लगाएर हाते छिना चलाएर बनाएका यी सूक्ष्म महान निर्माण शिल्पका रचना गर्नेहरूको सिर्जनात्मक सामर्थ्यको प्रशंसा नगरी को बस्न सक्ला र ?’ उनले यसमा इतिहास यसरी जोडेका छन्, ‘यो कथिड्रलले ८५० वर्षमा देखेका राजनीतिक उथल–पुथल, युद्ध, क्रान्ति, नाजीको आधिपत्यलाई लिएर हेर्दा यसले विगत र वर्तमानलाई कसरी जोडेको छ भन्न सकिन्छ ।’ मलाई यो भनाइले धेरै छोएको छ । ती लेख्छन्, ‘त्यो आगोले मानिसलाई जोड्छ ।’ अनि म आफैंतिर फर्केर सोध्छु, हामीलाई हाम्रा भूकम्पमा विनाश भएका सम्पदाका पीडाले जोडेका छन् त ? कति जोडेका छन् ?
नोत्रदाम एउटा आफ्नै परिवेशको कलाको भयानक उपस्थिति पनि होइन । तर यो यस्तो उपस्थिति हो, जसबारे थाहा भएदेखि अरु धेरैले जस्तै मैले पनि आफूले मानव कला र काव्यजस्तो मानेर आएको हुँ । म यो गोथिक गिर्जाघरमा सन् २००० को मे महिनामा पहिलोचोटी पुग्दा एक सीमाहीन, स्वतन्त्र अनि एउटा मानव कला विषयको फ्रिक भएर पसेको थिएँ । त्यहाँ पुगेपछि मलाई लाग्यो, म आफूले पढेका पश्चिमी संस्कृतिका पाठहरू, सुनेका ब्यारोक संगीत र देखेका चित्र र वास्तुकलालाई एउटा शान्त परिवेशमा हेरिरहेको थिएँ । मध्ययुगिन रंगिन ग्लासहरूबाट परम सुन्दर उज्यालो खसिरहेको थियो । मेडोनाले बालक क्राइस्टलाई बोकेको ‘नोत्रदाम द पारी’ भनिने अग्लो मूर्तिले मलाई यति धेरै समात्यो कि मैले त्यो चित्र पछि कला र चित्रहरूमा पनि पटक–पटक हेरिबसेँं । कञ्चनपुरकी बलात्कृत र हत्या गरिएकी बालिका निर्मला पन्तकी आमाले काठमाडौंमा भएको जुलुसमा बत्तीको शुभ्र उज्यालोमा मेडोनाले जस्तै बालिकाको फोटो बोकेको चिक्रले मलाई गहिरोगरी छोयो । मैले नोत्रदामकी मेडोनाले शिशु त्राइष्टलाई बोकेको त्यही मूर्ति सम्झेँं, अनि कान्तिपुरमा यस्तो लेखेँं, ‘भदौ २०७५ को अन्तिम हप्तामा काठमाडौंको सडकमा एउटा भयानक शक्तिशाली चित्र देखियो । कारुणिक, विद्रोही, भावात्मक र चेतनाको प्रवाह गराउने दृश्य थियो त्यो । एउटी आमाले आफ्नी बलात्कृत र हत्या गरिएकी बालिका छोरीको अबोध विम्ब छातीमा स्तनपान गराएर टाँसेको अनि त्यसलाई मैनबत्तीको शुभ्र उज्यालोमा आलोकित गरिएको जस्तो देखिने.....त्यो छवि रूपले मलाई बाह्रौं शताब्दीको प्यारिसको नोत्रदामको हलको दाहिनेपट्टि कुँदिएको मेडोनाले शिशु क्राइस्ट बोकेको विशाल मूर्ति र अरु ठाउँका यस्तै कलाकृतिहरूको सम्झना हुन्छ ।’ (असोज ६, २०७५)
मैले सबभन्दा पहिला यो नोत्रदामको विषयमा एउटा उपन्यासमा पढेको थिएँ, धेरै पहिले । फ्रान्सेली उपन्यासकार भिक्टर ह्युगो (सन् १८०२–१८८५) ले लेखेको, अंग्रेजीमा १८३३ मा अनुवाद भएको उपन्यास ‘द हन्चब्याक अफ नोत्र–दाम’ले यो कथिड्रलको मानवीय सम्बन्धमा रूपान्तरण गरेको छ । कुनै कलात्मक वा वास्तुकलासँग मानिसलाई जोडेर यसरी लेखेको सायद योभन्दा बलिया कृति होलान्, तर मैले पढ्न पाएको छैन । यो उपन्यासमा एउटा ढाडमा कुम्लो भएको कासिमोदो नामको गरिब केटाको मार्मिक कथा छ । नोत्रदाम गिर्जाको घन्टी बजाउने २० वर्षको यो कुम्ले आधी दृष्टि भएको र घन्टी बजाउँदा–बजाउँदै त्यति कान पनि नसुन्ने भएको छ । यो केटाको इस्मेराल्डा नाम भएकी यो उपन्यासकी नायिका १६ वर्षकी जिप्सी नर्तकीसँगको अनौठो सम्बन्ध हुन्छ र त्यो केटी मरेपछि यो केटा उसकै चिहानमा गएर उसलाई अंकमाल गर्दै त्यहीं भोकले मरेको कथा छ, यसमा । यो उपन्यासले एउटा गोथिक शैलीको विशाल गिर्जाघर र मानिसको सम्बन्धलाई जीवन्त चित्रण गरेको छ । मैले यो उपन्यासको विषयमा यति छलफल गर्नुको कारण अर्को छ । यो उपन्यास नेपालीमा अनुवाद गरिएको छ र यो पश्चिमी शास्त्रीय कृतिहरूमा सबभन्दा ठूलो अनुदित कृति हो । शारदा पत्रिकाका संस्थापक/प्रकाशक सुब्बा ऋद्धिबहादुर मल्ल (१९५५–२०२५) ले ‘न्याट्रिड्यामको कुम्भे’ शीर्षक राखेर नेपालीमा गरेको यो अनुवाद २०२५ सालमा प्रकाशित भएको हो । यसरी नोत्रदाम गिर्जाघरसँग नेपाली लेखक, कलाकारहरूको भावनात्मक सम्बन्ध कहीं न कहीं गाँसिएको देखिन्छ । नोत्रदाम जाने लेखकहरूमा लैनसिंह वाङ्देल र मानु दिदी अनि मैले थाहा पाएका लेखकहरूमा शेखर खरेल, अर्चना थापा, सञ्जीव उप्रेती छन् । नोत्रदामका सबभन्दा पछिल्ला चित्र र यसबारे बिजुली पत्र अलका आत्रेय चुडाल र बिन्दुले पठाएका हुन् । मैले जाने अनुसार नाट्यकर्मी पुष्कर गुरुङ, सुनील पोखरेल, सुवर्ण थापा नोत्रदाम गएका छन् । अरु गएका लेखकहरू सबै अहिले भावातित भएका होलान् ।
हाम्रोतिर पनि यस्ता सम्पदामाथि कथा लेखिएका अनि फिल्म बनेका छन् । महाभूकम्पले यस्ता सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएपछि हामीलाई एउटा प्रश्नले निकै हल्लाएको छ । त्यो हो, हामी यति धेरै वास्तु रचना र सम्पदा भएका मानिसका तीसँग जोडिएका जीवनका कथा छैनन् त ? ह्युगोको स्थुल उपन्यासजस्ता महाकाव्यिक चरित्रका वर्णन छैनन् त ? मलाई लाग्छ, छैनन् । तर ती परिवेशसँग जोडिएका रङ्गमञ्च र नाटकहरू भने थिए, जुन जनमानसमा पढिने र सहजै प्रयोग हुने रूपमा छैनन् । हाम्रा सम्पदाहरूले राजनीतिक र शक्तिका परिवर्तन देखे, तर ती प्रभावित भएनन्, किनभने ती इतिहासका सोझै संवेद्य भएनन् । भूकम्पपछिको नेपालमा यो अवस्थाको राम्ररी बोध भइरहेको छ ।
नोत्रदामको दुर्घटनाले दुःखित भएका मानिस विश्वभरि नै देखिए । मूल खण्ड वा आत्मा बँचेको छ, अब यसैबाट यसको पुनर्निर्माण गर्छौं, हामीलाई आगोले जोडेको छ भन्नेहरूका उदात्त प्रतिज्ञा सुनेर मलाई कवि नाटककार बालकृष्ण समको कविता ‘आगो र पानी’को सम्झना भएको छ, जसको सार हो, जीवन आगो र पानीको ‘सिम्फोनी’ हो, जसको लय शाश्वत छ ।

पाठक मञ्च

प्रहरीको लापरबाहीले ज्यान गयो

- कान्तिपुर संवाददाता

‘हिरासतमा बालकको मृत्यु’ समाचारले प्रहरीको अनुसन्धान प्रणालीमा प्रश्नचिन्ह खडा गरेको छ । न्यायिक अनुसन्धान प्रणालीको मुख्य उद्देश्य पीडितलाई न्याय र पीडकलाई सजायको कठघरामा ल्याउनु हो । प्रहरी प्रशासनको लापरबाही र अदूरदर्शिताको कारण यसप्रतिको विश्वसनीयतामाथि नै अन्योल सिर्जना भएको छ । संविधानको धारा २० न्याय सम्बन्धी हकमा ‘कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना नदिई थुनामा राखिने छैन’ भन्ने व्यवस्था भए पनि उक्त घटनाको प्रकृति हेर्दा यसको सार्थकता नरहेको अनुभूति गर्न सकिन्छ । पारिवारिक जानकारी तथा अदालतमा जानकारीविना हिरासतमा राख्नु, हिरासतमै मृत्यु हुनु, परिवारको संलग्नताविनै पोष्टमार्टम गरी परिवारलाई खबर गर्ने जस्ता क्रियाकलापको कारण प्रहरी प्रशासनको कमजोरी देखिन्छ । १६ वर्षभन्दा कम उमेकालाई नाबालकको रूपमा हेरिन्छ । नाबालकलाई पक्राउ गरी हिरासतमा राख्दा विभिन्न प्रक्रियाको समेत व्यवस्था भएको सन्दर्भमा यसको कुनै वास्ता नगरिनु न्याय विपरीत देखिन्छ । सत्य–तथ्य पत्ता लगाई गल्ती गर्नेहरूमाथि शीघ्र कारबाही होस् ।
– प्रगीता अधिकारी, अर्घाखाँची

पाठक मञ्च

लोभी–पापीको चंगुलमा गरिब

ऐतिहासिक महत्त्व र गरिमाबाट हामी टाढिँंदै गएका छौं । अभाव र संकटले हामीलाई लखेटिरहेको छ । गरिब र गरिबी बाहेक हाम्रो पहिचान, परिचय बाँकी रहेन । एक दशक अघिसम्म पनि गरिबीको कुरा गर्दा सबैले अफ्रिकी देशहरूको नाम लिने गर्थे । छोटो अवधिमै यतिबेला औंला हामीतिर तेर्सिन थाल्दा पनि गरिबी न्युनीकरणका अधिकांश सरकारी कार्यक्रम उपलब्धिविहीन सावित भएका छन् । शुक्रबारको अर्थ वाणिज्य पृष्ठमा प्रकाशित ‘अर्ब सकियो, गरिब परिचयपत्र बनेन’ भित्रको विषयलाई अर्को दुनियाँ हँसाउने गतिविधि भन्नुपर्ने हुन्छ । गरिबको सूचीमा परेका घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा, परिवारका दुई जनालाई छात्रवृत्ति, खाद्यान्नको समस्या भएकालाई रकमको व्यवस्था, सीपमूलक तालिम र रोजगारीको सुविधाजस्ता गरिब उत्थानका दृष्टिकोण अघि सारेर २०६९ सालमा गरिब परिवार पहिचान कार्यक्रम थालिएको थियो । यसलाई सकारात्मक कदमका रूपमा लिइएको पनि हो । २०७४ साउनमा मन्त्रिपरिषदबाट परिचयपत्र वितरण गर्ने निर्णय भई २६ जिल्लाका ३ लाख ९१ हजार ८ सय ३१ गरिब घरपरिवारको पहिचान गरियो । तीमध्ये ९ जिल्लाका ३८ हजार ३ सय घरपरिवारलाई परिचयपत्र वितरण गरिएको छ । अहिलेसम्म १ अर्ब रुपियाँभन्दा बढी खर्च भइसकेको छ । १ महिनाअघि सरकारले गरिब परिवार पहिचान तथा परिचयपक्र वितरण निर्देशिका २०७५ समेत जारी गरेको छ । तर कार्यत्रम नै खारेज गर्ने कुरा आयो । गरिबको सूचीमा पूर्वमन्त्री, नेता, उनका नातेदार, धनीमानीदेखि उच्च पदाधिकारीको नाम परेको उजुरी १० वटा गाउँ/नगरपालिका र सामाजिक सञ्जाल हेलो सरकारवाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा परेपछि कार्यक्रम नै बन्द गरियो । यसरी मापदण्ड विनाको हावादारी कार्यक्रमले अर्बभन्दा बढी सरकारी रकम स्वाहा पारेर अन्त्यमा स्वार्थीहरूको प्रहार निर्धनमाथि पर्‍यो ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

पाठक मञ्च

सरकारलाई नयाँ ज्ञान !

नेपाल जस्तो गरिब देशमा नेताहरूलाई सरकार चलाउन गाह्रो भए जस्तो लाग्छ । राजनीति पेसा बनेको अवस्थामा पहिला जसरी पनि आफैंले खानु/कमाउनुपर्‍यो । अनि जनतालाई पनि चल्लालाई कनिका दिएर छोपेजस्तो गरी केही न केही भनेर ढाँटिराख्नु पर्‍यो । यसै तथ्यको उपज थियो होला–वृद्धभत्ताको अवधारणा । यसको सुरुवात कम्युनिस्ट सरकारले गर्‍यो । त्यसपछिका दिनमा यो भत्ताको रकम बढाउँदै लगियो । हरेक चुनावमा यसलाई बढाएर यतिउति पुर्‍याउने भन्ने दलीय चुनावी एजेन्डा बने । आखिरमा अहिले यो भत्ता खारेज गर्ने निष्कर्षमा सरकार पुगेछ !
‘छोराछोरी विदेशमा पैसा कमाएर मोज गर्ने अनि तिनका बाबुआमालाई भने सरकारले भत्ता दिएर पालिदिनुपर्ने’ ज्ञान आएपछि सरकार वृद्धभत्ता खारेज गर्ने तयारीमा जुटेको रहेछ । यो राम्रो हो । तर सरकारले के बुझ्नुपर्‍यो भने सन्तानले आफ्ना बाबुआमालाई हेरचाह गर्न जानेका छन् । छोराछोरीले बाबुआमाको नाममा पैसा जम्मा गरिदिँदैमा सच्चा माया–ममता र सम्मान पोखिन सक्दैन । बाबुआमाको स्याहार–सम्भार र हेरचाह पनि हुँदैन । कतिपय बाबुआमाका लागि वृद्धभत्ताको रकमले जीवन निर्वाह गर्न सहज भएको त होला । तर त्यस्तो भत्तालाई जीवन निर्वाहको रूपमा दिइएको नभएर मानसम्मानका रूपमा समर्पण गरिएको भनेर बुझ्दा उपयुक्त होला । त्यसैले दिइँदै आइएको भत्ता खारेज गर्ने तयारीलाई सन्तोषप्रद मान्न सकिँदैन । गतवर्ष कर्मचारीको तलब पनि बढेन । पछि नियुक्त भएका कर्मचारीहरूको पेन्सन पनि नहुने भयो । कर पनि अन्धाधुन्द बढाइएकै छ । लेखकहरूले पाउने थोरै पारिश्रमिकसमेत कटाइएको छ । हुँदा–हुँदा वृद्धभत्ता पनि खारेज गर्ने रे ! यो सबै सम्झँदा के लाग्छ भने जनप्रतिनिधिहरूको सेवासुविधा कटाउने तथा अनेक शीर्षकमा हुने गरेका सरकारी फजुल खर्च सकेसम्म घटाउने काम नगरेसम्म सरकार लोकप्रिय हुन सक्दैन । यो खालि चल्छ मात्रै ।
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

पाठक मञ्च

तलब आयोग गठन होस्

सरकारले आगामी जेठ १५ गते बजेट प्रस्तुत गर्दैछ । यस वर्षको बजेटमार्फत देशभरिका राष्ट्रसेवक कर्मचारीहरूले तलब वृद्धिको अपेक्षा गरेका छन् । २०७३ सालपछि हालसम्म तलब वृद्धि भएको छैन । तलब वृद्धि गर्नु आवश्यक छ । तलब वृद्धि निजामती सेवा ऐनमा भएको व्यवस्था अनुसार गठन भएको तलब निर्धारण आयोगले प्रस्तुत गरेको सिफारिसलाई आधार मानेर गर्नुपर्ने हो । तर त्यसो नभई पछिल्लो समय तलब वृद्धि सरकारको तजबिजी भएको छ । कर्मचारीहरूको संगठनको दबाबमा हचुवाको भरमा तलब वृद्धि हुने गरेको छ । निजामती सेवा ऐन २०४९ मा उल्लेख भएको व्यवस्था अनुसार तलब वृद्धि गर्नु उचित हुन्छ ।


उच्चस्तरीय तलब आयोगले सिफारिस गरे अनुसार प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या, विगत तीन वर्षको मूल्य सूचीका आधारमा प्रदान गरिएको महँगी भत्ता समेतलाई आधार बनाई तलब–भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्नुपर्छ । सरकारी र संस्थानहरूको तलब ढाँचामा सामञ्जस्यता कामय गरी वैज्ञानिक ढंगले तलब निर्धारण गर्नुपर्छ । १ दिनको तलब बराबरको ग्रेड, १८० दिनभन्दा बढी घर बिदा बापतको रकम प्रत्येक वर्ष भुक्तानी गर्ने व्यवस्था गर्नु उपयुक्त हुनेछ ।
– बोधनाथ पौडेल, नयाँबानेश्वर, काठमाडौं

पाठक मञ्च

प्रदेश २ ले उठाएको प्रश्न

सात प्रदेशमध्ये प्रदेश २ सधैं एक न एक विवाद झिक्न उद्यत देखिन्छ । अनि यसले संशय उत्पन्न गर्छ । प्रदेश २ कहिले केन्द्रको कानुन नबन्दै आफ्नै प्रहरी राख्न खोज्छ भने कहिले केन्द्रको प्रतिनिधि सीडीओलाई माइनस गर्न छुटै कानुन बनाउन खोज्छ । कहिले आफ्नो प्रदेशमा आफै कर्मचारी नियुक्ति गर्ने उद्देश्यले केन्द्रको लोकसेवा आयोगलाई आफ्नो प्रदेशमा कर्मचारी भर्ना नगर्न उर्दी जारी गर्छर् । हरेक कुरामा प्रदेश २ खोँचेमात्र थाप्छ । केन्द्रलाई काम गर्न दिँदैन । किन ? कसको उक्साहटमा प्रदेश २ यस्तो हरकत गरिरहेको छ ? केन्द्रसँंग मिलेर प्रदेश चलाउने कि केन्द्रसँंग सधैं झगडा गरेर प्रदेशको विकासमा बाधा पुर्‍याउने ? २ नं. प्रदेशका नेता र सांसदले सोच्नु आवश्यक छ । हालै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगलाई एक पत्र लेखी आफ्नो प्रदेशमा कुनै पनि कर्मचारी भर्ना नगर्नु/नगराउनु भनी सचेत गराए । उनले जस्तै सबै प्रदेशले यस्तै गरे के यो मुलुकमा संघीयता चल्ला ?
प्रदेश २ ले आफ्नो प्रदेशमा आफ्नै प्रदेशको मात्र नागरिकलाई कर्मचारी हुने मौका दिने हो भने अन्य प्रदेशले पनि त्यस्तै गर्न सक्छन् । अनि त्यसबेला प्रदेश २ का जनताले अन्य प्रदेशमा नोकरी र रोजगारी पाउलान् ? यो निषेधको राजनीतिले कसैलाई फाइदा गर्दैन । यस्तो गर्ने हो भने एउटै देशमा हरेक प्रदेशका नागरिकले आफूलाई खुम्चिएको महसुस गर्नेछन् । सिंगो मुलुक सबै जनताको हो भन्ने धारणालाई खण्डित गर्छ । यस्तो गर्नु आफ्नै प्र्रदेशका जनताको सबै प्रदेशमा जाने, विचरण गर्ने, रोजगारी पाउने अधिकार कुण्ठित गर्नु हो । २ नम्बर प्रदेशका मुख्यमन्त्री, नेता र सांसदहरूले भारत लगायत संघीयता रहेको राष्ट्रबाट शिक्षा लिनुपर्छ । संघीयताको रूप विकृत पार्नु हुँदैन ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

पाठक मञ्च

हँसीमजाकले समृद्धि हुँदैन

सरकारका एक सदस्य भन्छन्– वृद्धभत्ता ५ हजार हुन्छ । अर्का सदस्य भन्छन्– छोराछोरी भएपछि बाबुआमा आफै पाल्नुपर्छ, केका वृद्ध भत्ता ? नाबालिका, चेली बलात्कृत भइरहेका छन् । राज्य प्रमुख बस्ने सरकारी निवासका जमिन बेचिएका छन् । माफियाको बिगबिगी छ । खै यसप्रति जिम्मेवारी ? जताततै विकराल अवस्था छ । जिम्मेवार पदमा आसिनहरूको हँसीमजाक चलेको छ । के यही हो, समृद्ध नेपाल, सुखी नेपाली ? पाइला–पाइलामा कमाउनु, देश/विदेशमा रमाउनु र राष्ट्र खोक्रो बनाउनु समृद्धि हो ? हैन भने खै जनतालाई कहाँ आयो समृद्धि ? खै को भएका छन्, खुसी ? यस्तै लुटतन्त्रका लागि थियो १० वर्षे द्वन्द्व ? यसैका लागि थियो, १९ दिने जनआन्दोलन ? हँसीमजाकले देश समृद्ध बन्दैन । जिम्मेवारीबोध गरी इमान–जमानमा चल्ने नेतृत्व भएन भने देश अधोगतिमा लाग्छ । अहिले यस्तै भइरहेछ ।
– अशोक तिवारी, बेलकोटगढी–१०, नुवाकोट

पाठक मञ्च

कसैलाई साधु नठानौँ

वैशाख ४ गते प्रकाशित ‘अमेरिकी नेतृत्वले नबुझेको नेपाल’ मा १२ बुँदामा सिलसिलेवार व्याख्या गरिएको छ । लेखक अमेरिका र भारतप्रति पूर्वाग्रही र चीनको पक्षपाती भएको प्रस्ट हुन्छ । चीनको अन्धसमर्थनमा नेपालले आफ्ना परम्परागत मित्रलाई गुमाउनु हुँदैन । चीन र भारतको प्रतिस्पर्धा छ । ठूलाबडाको बीचमा यस्तै हुन्छ । सिंह र हात्तीबीच स्यालले सिंहको पक्ष लियो भने हात्तीले कुल्चिदिन्छ । हात्तीको पक्ष लियो भने सिंहले खाइदिन्छ । त्यसैले हाम्रो काम दुवैको बीचबाट सकुशल निस्कनु हो । राजनीति र कूटनीतिमा कोही पनि साधु हुँदैन । हाम्रा लागि न अमेरिका साधु, न चीन, भारत । सबै उस्तै हुन् । हामीले होसियारीपूर्वक तिनीहरूबाट फाइदा लिने हो । कसैलाई पनि साधु ठान्ने होइन ।
– डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

पाठक मञ्च

तानाशाही चेस्टा

प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्मका सबै अधिकार आफ्नै मातहत राख्दै आइरहेका छन् । बिभिन्न मन्त्रालयसँग सम्बन्धित अधिकार यसअघि नै प्रधानमन्त्री कार्यालय मातहतमा पारिसकेका छन् । अब अन्य संवैधानिक निकायको अधिकार पनि क्रमशः आफ्नै मातहत राख्ने बाटोमा सरकार तदारुकतासाथ लागिरहेको छ ।


मानव अधिकार आयोगलाई सरकारले महान्यायाधिवक्ताको छायामा पार्न खोजेको समाचार सञ्चार माध्यममा आएको छ । न्यायपालिकामा यसअघि नै आफ्नो बर्चस्व लादेको सरकारले आज मानव अधिकार भोलि अख्तियार, पर्सी निर्वाचन आयोग, लोकसेवा आयोगजस्ता संवैधानिक निकायमा आफ्नो आधिपत्य जमाउँदै जाने हो भने कार्यपालिका एउटामात्रै भए राष्ट्रका लागि अरू कुनै पनि संवैधानिक निकायको आवश्यकता पर्दैन । न्यायपालिकामा सरकारले यसभन्दा पहिले नै आफ्नो हैकम जमाएको सीके राउत र रेशम चौधरी प्रकरणले देखाइसकेको छ ।


प्रदेश सरकारलाई लोकसेवाको अधिकार नदिनु, प्रदेशमा कर्मचारी व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई नदिनुले संघीय सरकार देशको सम्पूर्ण अधिकार आफैमा राख्न लागिपरेको मान्न सकिन्छ । महान्यायाधिवक्ता भनेको प्रधामन्क्रीको कानुनी सल्लाहकार हो । महान्यायाधिवत्ता र प्रधानमन्त्रीको बोली एउटै हुन्छ । आफूमा अधिकार राखेर जनहितमा काम गरेको भए प्रधानमन्त्रीलाई जनताको साथ र सहयोग भरपुर मात्रामा रहने नै थियो । तर आफ्नो १३ महिने कार्यकालमा पनि जनताले विश्वास गर्नेगरी एउटै काम गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना बढ्न थालेको छ ।


स्वतन्त्र पत्रकारितामाथि सरकारी हस्तक्षेप आम जनतादेखि पत्रकार महासंघसम्मको यतिबेलाको आलोचनाको विषय बनेको छ । लोकतन्त्रमा बोल्ने, लेख्ने अधिकार जुन प्रकारले जनताले प्रत्याभूति गर्नुपर्ने थियो, तर त्योभन्दा उल्टो गतिमा सरकार हिँडेको छ । दुई तिहाइको सरकारका गतिविधि राणाकालीनभन्दा फरक देखिएन । आफूले गरेको, बोलेको कुरा जस्ताको त्यस्तै स्वीकार गरिदिनुपर्ने भन्ने सरकारको आशय बुझिन्छ । यसो गर्दा देश बर्बादीतर्फ जाने निश्चित छ । सरकार मात्रै होइन, जोकोहीले पनि नराम्रो काम गर्छ र गलत बाटोमा यात्रा गर्छ भने उसलाई सही बाटो देखाइदिनै पर्छ । अरुले देखाएको सही बाटोलाई समातेर हिँड्न चाहेन भने र आफैले तय गरेको बाटो सही हो भन्न थाल्यो भने उसले केही बर्बादी गर्दैछ भन्ने अनुमान लगाउँदा हुन्छ । अहिलेको सरकार ठिक यही बाटोमा यात्रा गर्दैछ । यसले तानाशाहको नयाँ पगरी गुँथ्नेछ । देशलाई गलत ठाउँमा पुर्‍याउनेछ । बेलैमा सरकारले सही यात्रा तय गर्न जरुरी छ ।


– सुजन देवकोटा, पालुङटार–४, गोरखा

Page 7
विविधा

राजधनेशलाई देऊन वनमा बास

सन् २०१८ को अन्त्यमा बर्डलाइफ इन्टरनेसनलले प्रकाशित गरेको चराहरूको वर्तमान संरक्षण अवस्था प्रतिवेदनमा राजधनेशलाई संवेदनशील सूचीमा राखिएको छ । नेपालमा पनि पाइने राजधनेश विश्वमै दुर्लभको सूचीमा परेसँगै संरक्षणकर्मीहरू चिन्तित छन् । पछिल्ला दशकमा मानवीय क्रियाकलापहरूको परिणामस्वरुप बासस्थान संकुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, डढेलो, घाँसे मैदानको नाशका कारण थुप्रै प्रजातिका चराले संकट झेलिरहेका छन् । अवैध चरा सिकार तथा व्यापार, रासायनिक मल र विषादीको बढ्दो प्रयोग, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता अन्य कारण पनि छन् । नेपालबाट आठ प्रजातिका चरा लोप भैसकेका छन् । १६७ प्रजातिका राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा छन् । विश्वमै दुर्लभ मानिएका ४४ प्रजातिका चरा नेपालमा पाइन्छन् । बासस्थान विनाश यहाँ चराका लागि मुख्य खतरा हो । यही कारण, ८६ प्रतिशत चरा संकटापन्न अवस्थामा पुगेका छन् ।
विश्वका ५७ प्रजातिका धनेशमध्ये नेपालमा चार प्रजाति पाइन्छन् । होमराई धनेश विश्वमै पहिलोपटक नेपालमा सन् १८५० मा रेकर्ड गरिएको थियो । त्यो नेपालबाट भने २० औं शताब्दीमा लोप भैसकेको छ । बाँकी तीन प्रजाति सानो धनेश, कालो धनेश र राजधनेश हुन् । तीमध्ये राजधनेश लोपोन्मुख अवस्थामा पुगेको हो । फलफूलका रुखहरू भएको तराईका सदावहार विकसित चौडापाते जङ्गलमा बस्ने राजधनेश मुख्यतया पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा पाइन्छ । संरक्षित क्षेत्र बाहिर झापा, सुनसरी, मकवानपुर, कपिलवस्तु र कैलाली जिल्लाको जंगलमा मात्र पाइन्छ । अन्यत्र चरा भारत, चीन, भूटान, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड, म्यानमार, लाओस, भियतनाम, कम्बोडिया र इन्डोनेसियाको सुमात्रा टापुमा पाइन्छ । अंग्रेजीमा ग्रेट हर्न बिल भनिने हेलमेटजस्तो रङ्गिन शिर भएको राजधनेश सबैभन्दा ठूलो धनेश हो । प्रायःजसो सानो–सानो झुन्डमा देखिने यो पन्छी निकै आकर्षक देखिन्छ । नेपालमा राजधनेश डेढ सय वटाभन्दा कम रहेको अनुमान छ । वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित ९ पन्छीमध्ये यो पनि एक हो । यो साइटिस अनुसूची–१ मा सूचीकृत छ । यस अनुसूचीमा अन्तर्राष्ट्रिय व्यापारका कारण लोप हुने अवस्थामा पुगेका प्रजातिहरू पर्छन् र तिनको व्यापारमा पूर्ण प्रतिबन्ध लगाइएको हुन्छ ।
राजधनेशले गुँड निर्माण र ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउँछ । यसले ठूला र बूढा रुखको टोड्कोमा गुँड बनाई वर्षायाममा प्रजनन गर्छ । भालेले पोथीलाई अन्डा पारेपछि बच्चा नहुर्कन्जेलसम्म टोड्कोमा रहेको गुँडमै थुनेर राख्छ । धनेश दम्पतिले हिलो र पोथीको विष्टाको सहयोगमा टोड्काको मुख पुरै टाल्छन् । त्यसमा बनाइएको सानो प्वालबाट पोथीले हावा र आहारा लिने गर्छे । ओथारो अवधिभर पोथीलाई र पछि बच्चालाई भाले राजधनेशले नियमित आहारा खुवाउँछ । यही स्वभावका कारण यसलाई पत्नीवर्ता पन्छी भनिन्छ । बढीमा दुइटासम्म अन्डा पार्ने पोथी चालीस दिनसम्म ओथारो बस्छे । ओथारो अवधिमा प्वाँखहरू झरेर कुरूप बनेकी पोथी त्यसपछि पलाएका प्वाँखहरूले भने झन् सुन्दर बन्छे । करिब दुई महिनापछि मात्र बच्चा उड्न सक्षम हुन्छन् । जोडी बनिसकेपछि राजधनेशका भाले–पोथीले एकअर्कालाई दीर्घकालसम्म साथ दिन्छन् । तीस वर्ष वा त्यसभन्दा बढी आयु हुने यो पन्छीले उडानको बेला पखेटाको फटफटावट आवाज निकाल्छ । करिब एक किलोमिटर टाढासम्म पनि सुन्न सकिने उक्त आवाजको मद्दतले टोड्कोमा थुनिएर बसेको पोथीले भालेको आगमन र क्रियाकलाप पहिचान गर्छे ।
प्रकृतिमा भएका कतिपय हानिकारक किराफट्याङग्रा, मुसा तथा छिपकलीहरू खाई राजधनेशले पर्यावरणीय सन्तुलन तथा खाद्यचक्र गतिशील राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । विभिन्न बिरुवा तथा फलफूलको विउ विस्तार र वितरणमा पनि यसले योगदान पुर्‍याएको हुन्छ । खास किसिमको बासस्थानमा मात्र पाइने यो चरा त्यस्ता क्षेत्रहरूको वातावरणीय सूचक मानिन्छ । पछिल्ला दशकमा वन विनाश र अतिक्रमणले ठूला र पुराना रुखहरूको अभावमा राजधनेशको संख्या दिनानुदिन घटिरहेको हो । चोरी सिकारी पनि चुनौती हो । मासु र यसको आकर्षक शिरका लागि अवैधानिक सिकार र व्यापार गरेको भेटिन्छ । ओथारो अवधिभर थुनिएर बसेको पोथी कमजोर र कम चलायमान हुने हंँदा मानव सिकारी र प्राकृतिक सिकारी जीवजन्तुको आक्रमणमा पर्ने सम्भावना हुन्छ । नेपाल तथा भारतका कतिपय आदिवासी समुदायले यसको ठोँड, प्वाँख र शिरलाई परम्परागत संस्कार तथा रीतिरिवाजमा प्रयोग गर्ने गर्छन् ।
राजधनेश जैविक विविधताको महत्त्वपूर्ण सूचक र पर्यापर्यटनको प्रमुख आकर्षण हो । बूढा र सुकेका धोद्रा रुखहरू नै राजधनेशका घर हुन् । यसर्थ यस्ता रुख जोगाउन जरुरी छ । सामान्यतया हामीले पुराना र सुकेका रुखहरूलाई त्यति महत्त्व दिँदैनौं । वन व्यवस्थापनका अभ्यासमा त्यस्ता रुखहरू मास्ने वा जंगलबाट निकाल्ने गरिन्छ ।
संरक्षित पन्छी राजधनेशको चोरी सिकार गरेमा १५ देखि ३० हजारसम्म जरिवाना वा ३ देखि ९ महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ । चरा संरक्षण विशुद्ध एकल अभियान होइन, यसलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवं पर्यटन उद्योग र विकास सँगसँगै हेरिनुपर्छ । नेपालमा चरा अवलोकनका लागि थुप्रै बाह्य पर्यटक आउँछन् । खास प्रकारका चराहरूको संरक्षण, बासस्थान व्यवस्थापन र प्रचार–प्रसारले देशलाई चरा अवलोकनका लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ । स्थानीय निकायले राजधनेश जस्ता चरा र तिनको बासस्थान संरक्षणमा समन्वयकारी तथा अभिभावकीय भूमिका निभाउन सक्छन् । यस कार्यमा केन्द्र सरकार र सरोकारवाला निकायले पहल गर्नुपर्छ । अन्यथा राजधनेश यस धर्तीबाटै लोप भएर जानेछ । त्यसको कारक पुस्ता हामी हुनेछौं ।

कृष्णप्रसाद भुसाल

विविधा

नेकपाको आदित्य ज्योतिपथ

- युग पाठक

 

यो मुलुकमा सिधासिधा भन्नुपर्ने कुरा धेरै छन् । सिधा कुरा हो, विष्णु पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव हुन् र बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिका नाममा सार्ने किर्तेकारितामा उनको मुख्य भूमिका छ । यो पनि उत्तिकै सिधा कुरा हो कि उनलाई भूमाफियाले त्यो जग्गा उपहार दिएको हो । औपचारिकताका लागि बनाइएका कागजपत्रको कुरा गरिरहनु परेन । एउटा जाली वक्तव्य निकालेर उनी उम्कने ठाउँ छैन ।
पौडेललाई चोख्याउन सरकारले प्रवक्ता गोकुल बास्कोटाको कुटिल अनुहार अगाडि सार्‍यो । सिधा कुरा यो पनि हो कि यस्ता धेरै प्रसंगमा यही अनुहार क्यामेरा अघिल्तिर उभ्याइने गरिएको छ । वाइड बडी भ्रष्टाचार प्रकरणमा पनि सरकारले यही अनुहार अघि सारेको थियो । संसदको सार्वजनिक लेखा समितिले वाइड बडी खरिदमा भ्रष्टाचार भएको किटान गरेपछि यही अनुहारले कुटिलतापूर्वक समितिको प्रतिवेदनलाई दुत्कारेको थियो । लगत्तै सरकारले लेखा समितिको प्रतिवेदन छल्न आफैं छानबिन समिति बनाएको घोषणा गर्‍यो । अन्ततः त्यो समितिलाई नियुक्ति नै नदिएर विघटन गरियो । हाइसन्चो !
ठमेलमा गुठीको जग्गा मासेर छाया सेन्टर बनाइयो । पत्रकार जेबी पुनले यसबारे अनुसन्धानामूलक विस्तृत रिपोर्ट नै प्रकाशित गरे । स्थानीय जनताको विरोधका बाबजुद नेकपाका नेता योगेश भट्टराईले चोरबाटोबाट छिरेर छाया सेन्टर उद्घाटन गरे । त्यसैगरी ह्यात होटलले चर्चेको जग्गाका सन्दर्भमा पनि यस्तै शृंखलाबद्ध समाचारहरू प्रकाशित भए । अनेक गुठी लगायत कैयौं सरकारी जग्गाजमिन रातारात व्यक्तिका नाममा सारिएको रहस्योद्घाटन भैरहेको छ । आश्चर्य के भने न नेकपा, नत सरकारलाई नै यस्ता कुराले तातो लगाएको छ ।
पख्नुस्, सिधा कुरा यो हो– आश्चर्य त आम जनतालाई पो लागेको छ, सरकार र नेकपालाई होइन । सार्वजनिक स्मृतिबाट एउटा काण्ड बिर्साउन अर्को काण्डको सिलसिला काफी छ । दुई तिहाइको सरकार बुख्याँचा जस्तो तैनाथ छ, जनताको स्मृति धपाउन । पानीजहाजको कार्यालय उद्घाटन गरेर होस् वा कोही गरिब हुनु नपर्ने वायुपङ्खी घोषणा गरेर, प्रधानमन्त्री केपी ओलीले कुशलतापूर्वक सरकार चलाइरहेका छन् । जनताको बीचमा सबै लज्जा छताछुल्ल भैसकेको समेत पत्तो नपाउनेगरी उनको  वायुपङ्खी सवारी जारी छ । यो स्तरको लज्जा पचाउन सजिलो छैन । धन्न, प्रधानमन्त्री ओली र नेकपाले एउटा चमत्कारी सिद्धान्त पाएका छन्– आदित्य ज्योतिपथ ।
आदित्य एक बिरामी बालक हुन् । यो पनि उत्तिकै सिधा कुरा हो । उनलाई गुगल ब्वाई कसले बनायो ? गुगल भनेको कुनै चमत्कार होइन । अरु विशेषता छाडेर आदित्यको नाममा जोडिएको अर्थलाई मात्र हेर्ने हो भने यो इन्टरनेट वेबसाइट खोज्ने अर्को वेबसाइट हो । अंग्रेजीमा यसलाई सर्च इन्जिन भन्ने गरिएको छ । संसारभरिका वेबसाइटमा राखिएका दर्जनौं भाषाका अनेकन सूचना र ज्ञान यसले खोजेर प्रस्तुत गरिदिन सक्छ । आर्किटेक्चरदेखि आइन्सटाइनका जटिल वैज्ञानिक सिद्धान्तसम्म, साहित्यदेखि संगीतका सिर्जनासम्म, पुरातात्त्विक खोजदेखि अन्तरिक्ष विज्ञानसम्म, गणितका अनेक खेलदेखि जोन न्यासको गेम थ्योरीसम्म, जे खोजे पनि गुगल हाजिर छ । आदित्य र उनलाई भगवान बनाउन तम्सिएका मानिसहरूमात्र होइन, आफूलाई चमत्कारी दाबी गर्ने बाबाहरूसम्म कसैले पनि गुगलले देखाउन सक्ने सबै कुरा बुझ्न सक्दैनन् । पुस्तौं–पुस्ताले आविष्कार गरेको र हजारौं मानिसले हजारौं घन्टा खर्च गरेर इन्टरनेटमा राखेको सूचना र ज्ञान कुनै एक मानिसले एउटा जिन्दगीमा न बुझेर सक्छ, न जानेर ।
त्यसैले एउटा बिरामी बालकलाई गुगल ब्वाई भनेर हल्ला गर्नु जति मुर्खतापूर्ण कुरा हो, त्यसलाई पत्याउनु मुर्खताको मूर्ति थापेर पूजा गर्नु जत्तिकै हो । अझ खराब कुरा एउटा बालकलाई बालसुलभ जीवनबाट च्युत गरेर धार्मिक व्यापारको घेराभित्र कैद गर्नु हो । बाल अधिकारको सरासर हनन हो र एक गैरकानुनी काम हो । आदित्यको नाममा धार्मिक प्रतिष्ठान नै बनाएर जानेमानेका व्यापारी, उच्चपदस्थ कर्मचारी लगायत सक्रिय छन् । अझ खतरनाक कुरा त के भने सरकारले प्रतिष्ठानका नाममा जनताको पसिनाबाट उठेको पैसा खन्याएको छ । आदित्यका नाममा चलेको धार्मिक व्यापारमा सरकारको प्रत्यक्ष संलग्नता र प्रोत्साहन देखिनु आपत्तिजनक हो कि होइन ?
जनताले विवेकको मत प्रयोग गर्छन् भन्ने मान्यताका आधारमा लोकतन्त्रमा चुनाव हुन्छ । त्यो विवेक त्यसपछि विजेता दल र उसले बनाउने सरकारलाई हस्तान्तरण गरेको मानिन्छ । सरकारले समाजको खुसहालीका निम्ति त्यो विवेक प्रयोग गर्छ । मन्त्रालयहरू, योजना आयोग आदि–आदि त्यही विवेक प्रयोग गर्ने औजार हुन् । ओली सरकारले त झन् भएका संस्थागत संरचनाले नपुगेर नयाँ थिङ्क ट्यांक पनि बनाएको छ । प्रश्न उठ्छ– धर्मका व्यापारीहरूले एक बिरामी बालकका नाममा बनाएको आदित्य ज्योतिपथमै हिँड्नुछ भने सारा संस्थागत संरचना किन चाहियो ? सिंगो मन्त्रिपरिषद, योजना आयोग, थिङ्क ट्यांक, कर्मचारीतन्त्र, विश्वविद्यालयहरू के एउटा बिरामी बालकको चमत्कार हेर्न तलब थापेर दर्शकदीर्घामा बसेका हुन् ?
एमाले र माओवादी नामका दुई पार्टी मिलेर नेकपा बनेको सिधा–सिधा सत्य हो । एमालेले बहुदलीय जनवादलाई आफ्नो निर्देशक सिद्धान्त मानेको थियो भने माओवादीले एक्काइसौं शताब्दीको जनवादलाई मार्क्सवाद–लेनिनवाद–माओवादको एक विकसित कार्यदिशा बताएको थियो । एक हुनुभन्दा अगाडि र एक भैसकेपछि उनीहरूले आफूलाई कम्युनिष्टका रूपमा चिनाउँदै आएका छन् । कार्ल मार्क्सले संसारलाई दिएको मुख्य ज्ञान हो– मानव समाज कुनै दैवी चमत्कारबाट होइन, मान्छे र मान्छेले बनाएको समाजकै नियममा चल्छ । पछिल्ला शताब्दीमा धर्म र दैवी चमत्कार केवल धार्मिक संस्था र राजनीतिक शक्तिले विभिन्न तहका सत्ता आर्जन गर्न र आफू शक्तिशाली हुन प्रयोग गरिरहेका छन् । याद राख्नुस्, उनीहरूको सत्ताचाहिँ त्यही धार्मिक भावनालाई पनि हिसाब–किताबमा सञ्चालन गरेर मात्र चल्छ ।
नेपालमा जब आफूलाई कम्युनिष्ट भन्नेहरूले आदित्य ज्योतिपथलाई मार्गदर्शन सिद्धान्तको रूपमा खुलेआम उपयोग गर्न खोजेको देखियो, हालसम्म थुपारिएका दस्तावेज केवल भ्रमका पुलिन्दा रहेछन् भन्नुपर्ने भयो । नपत्याए नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सोध्नुहोस् । प्रधानमन्त्री ओलीले त आदित्यको अद्भुत क्षमताको दुहाइ दिँदै वैज्ञानिकहरूलाई नै दुत्कारिरहेका छन् । अनि आदित्य ज्योतिपथ उल्लेख गरिएको ब्यानर मुन्तिर ओली र दाहाल दुवै रामनामी वस्त्र ओढेर विराजमान देखिन्छन् ।
सिधै भन्नुपर्छ– नेकपालाई दुई अध्यक्षले आदित्य ज्योतिपथतिर डोर्‍याउनुका दर्दनाक कारण छन् । यो लेखको सुरुमै उल्लेख गरिएका भ्रष्टाचारका नमुनाहरू सम्झौं । अख्तियारदेखि अदालतसम्म, कर्मचारीतन्त्रदेखि सेना र प्रहरीसम्म, अनि ठूला दलहरू सबै भ्रष्टाचारको पाउजेब बजाएर हिँड्न बाध्य छन् । ती पाउजेबका छन्छन् क्षितिजसम्म गुञ्जायमान सुनिन्छ । गोर्खाली सत्ता स्थापना भएदेखि आजसम्म सत्ता र यसका अंगहरूमा पुग्नेले व्यक्तिगत सम्पत्ति आर्जन गर्न त्यो सत्तालाई प्रयोग गरेको इतिहास छ । आजसम्म सत्ताको दोहन जारी छ । नेकपाले त्यही सत्ताको विरासत धान्ने पछिल्लो मौका पाएको मात्र हो ।
सत्ताको विरासतलाई जस्ताको तस्तै काँध थापेर परिवर्तनको कुरा गर्नु भनेको काशी जाने कुरा गरेर कुतीको बाटो चम्पत ठोक्नु जस्तै हो । यो विडम्बना बाँच्न नेकपा बाध्य छ । प्रधानमन्त्री ओलीले पानीजहाज र रेलको उडन्ते गफ गरेर चुनाव जिते, हालसम्म पनि उनको उडन्ते गफ जारी छ । जीवनको सत्य थाहा पाउने मामलामा आमजनता जति चमत्कारी कोही हुँदैन । सरकारी स्कुल ध्वस्त हुने क्रम जारी छ, निजी स्कुलमा पढाउने क्षमता आम जनतासँग छैन । एक महँगो निजी अस्पतालको विज्ञापन गर्न प्रधानमन्त्री स्वयम् पुग्छन्, तर आम जनतासँग उपचार नपाएर मर्ने बाहेकको विकल्प छैन । सार्वजनिक अस्पताललाई साधन सम्पन्न र जनताको पहुँचसम्म पुर्‍याउने त परैको कुरो, प्रधानमन्त्री त्यहाँ पनि बिरामी बालकको चमत्कारमाथि प्रकाश पारेर समय बिताउँछन् ।
एक वर्ष पुग्दा–नपुग्दै आफू असफल भैसकेको थाहा पाएपछि प्रधानमन्त्री र नेकपासँग आदित्य ज्योतिपथ बाहेक के बाँकी छ त ? हो, चमत्कारको भाषण बाहेक नेकपासँग अब केही बाँकी छैन । उसको असफलता छोप्ने हदको प्रयत्न पनि दिनहुँ असफल भैरहेछ । रामनामी ओढेर आदित्य ज्योतिपथको प्रचार गर्न प्रधानमन्त्री ओली बाध्य छन्, अध्यक्ष दाहाल अभिशप्त छन् । नेकपाको आदित्य ज्योतिपथमा धनाढ्या व्यापारी, ठूला कर्मचारी सबै ठूलाहरूको साथ छ । नेकपालाई कम्युनिष्ट पार्टी ठानेर दिनहुँ आफ्नै विवेकमाथि प्रश्न खेपिरहेका नेता–कार्यकर्ता कोही बाँकी छन् भने उनीहरूको हालत हामी बुझ्न सक्छौं ।

[email protected]

विविधा

इन्टरनेटले हामीलाई नंग्याएको छ

दुई दशकअघि इन्टरनेट युग बामे सर्दै गर्दा, स्मार्टफोन चलनचल्तीमा नआउँदै, एप्सहरूको कल्पना नहुँदै ‘सन माइक्रोसिस्टम्स’का सह–संस्थापक स्कट म्याकनेलीले भनेका थिए– ‘तपाईंका केही पनि कुरा गोप्य छैनन् । त्यसलाई आत्मसात गर्नुहोस् ।’
त्यतिबेला उनको कुरालाई कसैले पनि गम्भीरतापूर्वक लिएनन् । अहिले हामी सबैभन्दा धेरै तथ्यांक उत्पादन गर्छौं, धेरैभन्दा धेरै विषय–वस्तु इन्टरनेटमा अपलोड गर्छौं, पागल जसरी सबै कुरा अनलाइन साटासाट गर्छौं । यसको मतलब मानव इतिहासमै हामी सबैभन्दा धेरै पक्षको निगरानीमा छौं । यस अर्थमा, हामी अनलाइनका कारण नांगिएका छौं ।
हाम्रो सबैभन्दा गोप्य भनिएकै सूचना नै तीव्र गतिमा विस्तार भइरहेको इन्टरनेटको इन्धन हो । हाम्रो विभिन्न प्रकारका तथ्यांकले नै यसलाई चलायमान बनाइरहेको छ । तसर्थ टेक कम्पनीहरूले त्यस्ता तथ्यांकहरूको दुरुपयोग पनि गरिरहेको भेटिएको छ ।
यो सबैलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय जटिल छ । सबैभन्दा पहिला त हामीले हाम्रो गोप्यता हनन भएको विषयलाई आत्मसात गर्नु हुँदैन । हामी के भयौं भन्ने मनन गर्दै हामीले गम्भीर भएर सोच्न आवश्यक छ । आफ्नो सजिलोका लागि प्रयोग गर्ने ग्याजेट्सलाई नै उपयोग गरेर हामीमाथि गरिएको व्यापारबारे सोच्न जरुरी भएको छ । त्यसका लागि हामीले आफ्नै नियम बनाएर टेक कम्पनीलाई चुनौती दिनुपर्ने अवस्था छ ।
ती नियमहरू कस्ता हुनुपर्छ भन्ने अहिलेको प्रश्न हो । केही अमेरिकाले आफ्नो गोप्यता सम्बन्धी कानुनै परिमार्जन गरेर टेक कम्पनीहरूको मनोमानीलाई नियन्त्रण गर्नुपर्ने सुझाउँछन् । केही त टेक कम्पनीको मनोमानीलाई नियन्त्रण गर्न छुट्टै निकाय नै गठन हुनुपर्ने तर्क गर्छन् । अन्य केहीको भने अहिलेकै कानुन नै काफी भएको दाबी छ । उनीहरू विद्यमान संरचनामै केही थप लगानी गरे पुग्ने सोच्छन् ।
मेरो विचारमा भने हामीले दुवै कार्य गर्नु जरुरी छ । तथ्यांकका भोका टेक कम्पनीहरू थप शक्तिशाली बन्नु अघि नै हामीले छिट्टै केही कदम चालिहाल्नुपर्छ ।
कुनै कम्पनीमा काम गर्नका लागि अन्तर्वार्ता दिन जाँदा आफ्नो हाउभाउलाई एउटा आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बुद्धि) ‘एआई’ ले उक्त कम्पनीमा काम गर्ने उत्कृष्ट र निकम्मा व्यक्तिसँग दाँजेको तपाईंलाई चित्त बुझ्छ ? मलाई त बुझ्दैन । तपाईंले घरमा प्रयोग गर्ने हरेक सामानमा क्यामेरा भएको मनपर्छ ? मलाई त मनपर्दैन । हेरिरहेको टेलिभिजन, इन्टरनेटमा किन्नका लागि खोजी गरेको सामानको इतिहाससँग आफू जोडिएको देख्न चाहनुहुन्छ ? हैन, भयो परेन ।
आफ्नो सहजताका लागि हामी हरक्षण स्मार्टफोन प्रयोग गर्छौं । त्यसले नै मानव सभ्यताको इतिहासमै हाम्रा सबै क्रियाकलापलाई निगरानी गर्ने व्यवस्थालाई बढावा दिएको छ । जसलाई मैले पनि धेरैपटक स्वीकारेको छु ।
मलाई प्रविधि मनपर्छ । मेरो आइफोनसँगको नाता पनि झन्डै एक दशक पुरानो भइसक्यो । तर अहिलेजस्तो पहिला मलाई कुनै नियन्त्रण रेखा बनाउनुपर्छ भन्ने लागेको थिएन । सबै टेक कम्पनीहरूमा राक्षसी प्रवृत्ति छ भन्ने पनि होइन । तर उनीहरूमा कुनै पनि बेला राक्षसी प्रवृत्ति आउन सक्ने सम्भावना भने छ ।
कसैले आफूमाथि निगरानी राखिरहेको छ भनेर सोच्न मानसिक रोगी हुनुपर्दैन । त्यस्ता कम्पनीहरूको अनाधिकृत निगरानीबाट रक्षा गर्न हामीलाई कडाभन्दा कडा कानुन चाहिएको छ । हामीले केही वर्षमै त्यस्ता कम्पनीका कार्यमा अंकुश लगाउने कानुन प्राप्त गर्छौं भन्नेमा म आशावादी छु ।
यसो भन्दैमा नयाँ कम्पनीहरू र तिनको आविष्कारमाथि नै अंकुश लगाउनु भने हुँदैन । केही हदसम्म युरोपले लगाएको अंकुशमाथि भने मेरो विमति छ । त्यसरी अत्तिनुपर्ने अवस्था पनि छैन भन्ने मेरो सोच हो ।
युरोपले जेनेरल डाटा प्रोटेक्सन रेगुलेसन, २०१८ मार्फत सबैभन्दा कडा कानुन ल्याएको छ । यसले कुनै पनि व्यक्तिलाई आफ्नो व्यक्तिगत तथ्यांक र सूचना कसले, कसरी प्रयोग गर्न सक्छ भन्ने निर्धारण गर्नसक्ने अधिकार दिएको छ । यस्तै अनलाइनमा विज्ञापनकर्ताहरूले कसरी विज्ञापन गर्न पाउँछन् भन्ने सम्बन्धी पनि कानुन बनाएको छ । ‘बिर्सन पाउने अधिकार’ त्यस्तै एक जटिल कानुनको उदाहरण हो । बेलायतले यसै साता कसैको छवि धुमिल्याउने सामग्री प्रकाशित गर्ने सञ्जालका अधिकारी लगायत कम्पनीलाई पनि कारबाही गर्न मिल्ने कानुन बनाउने बताएको छ ।
युरोपले ठूलो टेक कम्पनीलाई दिएको सन्देश स्पष्ट छ– ‘यो भद्रगोल तिमीहरूले नै बनाएको हो, आफैं सफा गर ।’
यो सोच आन्ध्र र प्रशान्त महासागर तरेर क्यालिफोर्नियासम्म आइपुगिसकेको छ । क्यालिफोर्नियाले पनि गतवर्ष उपभोक्ता गोपनीयता ऐन पारित गरेको छ । युरोपको जेनेरल डाटा प्रोटेक्सन रेगुलेसनभन्दा यो केही नरम रहेको आलोचना भए पनि क्यालिफोर्नियाका कम्पनीहरूले सशक्त तथ्यांक सुरक्षा नियमलाई मान्नुपर्ने भएको छ । यसले उक्त राज्यमा बस्ने नागरिकलाई आफ्नो तथ्यांक र सूचना टेक कम्पनीहरूले कसरी प्रयोग गर्न पाउँछन् भन्ने निर्क्योल गर्ने अधिकार दिएको छ । यो कानुन २०२० देखि पूर्णरूपमा लागू हुने छ र त्यसमा थप प्रावधानहरू पनि जोडिन सक्नेछन् ।
अन्य १० राज्यले पनि गोप्यता सम्बन्धी कानुन बनाउनका लागि गृहकार्य सुरु गरेका छन् । यसका लागि हरेक राज्यले आफ्नो तरिकाले सोच्नेभन्दा पनि एकीकृत रूपमा कार्य गर्नु जरुरी हुन्छ ।
कृत्रिम बुद्धि, फाइभ जी, क्वान्टम कम्प्युटिङ, स्वचालित प्रणालीहरू, रोबोटिक्स, स्वचालित कार, अनुहार चिन्ने प्रविधिजस्ता नवीनतम अविष्कारहरू गोप्यतालाई असुरक्षित बनाउने किसिमका प्रविधि हुन् । यसको प्रयोग हुँदा टेक कम्पनीहरूले प्राप्त गर्ने सूचनालाई उनीहरूले एकआपसमा कसरी साटासाट गर्छन् भन्ने अर्को मुद्दा हो । किनकि अबको विश्व यही जञ्जालमा जकडिएको छ ।
केही देश त अमेरिकीहरूले पचाउन पनि नसक्नेगरी अगाडि बढेर आफ्नो नागरिकका हरेक गतिविधिको निगरानी गरिरहेका छन् । चीन त्यसको एउटा उदाहरण हो ।
अहिलेको युगमा हामी गुगल, फेसबुक वा एमेजोनबाट भाग्न कठिन छ । भविष्यमा त्यस्ता ठूला कम्पनीहरू थप आक्रामक भएर तथ्यांक संकलन गर्न उद्यत हुन्छन् भन्नेमा पनि दुईमत छैन । उनीहरूले संकलन गनेको सूचना हाम्रालागि ‘डिजिटल ट्याटु’ जस्तै हुन् । यो सबै हाम्रो नियन्त्रणभन्दा बाहिर छ भनेर चुप लागेर बस्न भने हुँदैन । उनीहरूले आफ्नो काम गर्छन् । हामी आफ्नो अधिकार सुरक्षित गर्न जुट्नुपर्छ ।

कारा स्वीसर
लेखिका प्रविधिका समाचार सम्प्रेषण गर्ने वेबसाइट रिकोडकसँग आबद्ध छिन् ।
न्युयोर्क टाइम्सबाट अनुदित ।

Page 8
खेलकुद

पुलिस र प्रदेश २ विजयी

- घनश्याम गौतम
आठौं राष्ट्रिय फुटबल प्रतियोगिताको शुक्रबार फुटबल खेलमा गोल गर्ने प्रयास गर्दै सुदूरपश्चिम प्रदेशका खेलाडी (रातो) र रोक्ने प्रयासमा प्रदेश २ का खेलाडी ।तस्बिर ः घनश्याम/कान्तिपुर

(रूपन्देही) - पुरुष फुटबलमा शुक्रबार नेपाल पुलिस क्लब र प्रदेश २ विजयी भए । बुटबलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टर मैदानमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्‍यो । समूह ‘ख’ मा पुलिसको यो दोस्रो जित हो । ६८ औं मिनेटमा सुमन लामाले पेनाल्टीमार्फत गरेको गोलमा पुलिस विजय हात पार्‍यो ।
पुलिसका नीरकुमार राईलाई आर्मीका विकास खवासले लडाएपछि पाएको पेनाल्टीमा लामाले गोल गरे । यसअघि पहेंलो कार्ड पाएका खवास दोस्रो पहेंलो कार्डपछि मैदान छोडेका थिए । आर्मीका टंक बस्नेतले सुरुवातमा नै राम्रो अवसर गुमाए । उनले रक्षकलाई छकाएर गरेको प्रहार पुलिसका गोलरक्षक शत्रुघ्न चौधरीले रोकिदिए । एक खेलमा जित र एकमा हार बेहोरेको आर्मी दोस्रो स्थानमा छ ।
दोस्रो खेलमा प्रदेश २ ले सुदूरपश्चिमलाई ४–२ को गोलले पराजित गर्‍यो । पहिलो मिनेटमै सुदूरपश्चिमका कमल देउवाले गोल गरे । प्रदेश २ का राकेश सिंहले ५५ औं मिनेटमा गोल गरी बराबरीमा पुर्‍याए । ७५ औं मिनेटमा प्रदेश २ का कृष्ण शाक्यले दोस्रो गोल गर्दै अग्रता दिलाए । ७९ औं मिनेटमा प्रदेश २ का गोलरक्षक सागर सुस्लिङले डिबक्सभित्रै खेलाउन खोजेको बल फुत्काएपछि त्यही अवसर छोप्दै सुदूरपश्चिमका कमल देउवाले गोल गर्दै बराबरी गराए । सुस्लिङले गरेका धेरै गल्तीलाई पनि सुदूरपश्चिमले अवसरमा बदल्न सकेनन् । पेनाल्टी बक्सबाहिर पुगेका गोलरक्षकलाई छक्याएर अघि बढाएको बलमा समेत सुदूपश्चिमका चेतमान कठायत चुके ।
इन्जुरी समयको पहिलो मिनेटमा प्रदेश २ का टंकबहादुर सिङ्दलले गोल हानेर अग्रता दिलाए । ८३ मिनेटमा पाएको अवसरलाई समेत उनले गोलपोस्ट नजिकै सुदूरपश्चिमका गोलरक्षक अमानत शेखलाई छल्दै गोलमा परिणत गरेका थिए । शनिबारको पहिलो खेल आर्मी र प्रदेश ६ तथा दोस्रो खेल प्रदेश २ र पुलिसबीच हुनेछ ।

खेलकुद

जसले खेल्न पाएनन्

- कुशल तिमल्सिना

(बाँके) - करिअरको गति चढ्दै गएका खेलाडीका लागि वर्षौंको मिहिनेत प्रदर्शन गर्ने उपयुक्त ठाउँ हो, राष्ट्रिय प्रतियोगिता । घरेलु खेलकुदको महामेलाको रूपमा प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुद जारी छ । देशभरका ५ हजार ३ सयभन्दा बढी खेलाडी एकै ठाउँ भेला भएका छन । प्रतियोगिता खेल्न नेपालगन्ज पुगेका सुदूरपश्चिमका एक खेलाडी खेल्नै नपाएर घर फर्कनुपरेको छ ।
कञ्चनपुरका सुरेश गिरी उसुका सान्सो ६० केजीमुनि तौलसमूहका खेलाडी हुन् । आठौं खेलकुदलाई उनले फागुनमा दाङमा भएको छनोट प्रतियोगितामा दोस्रो स्थान ल्याएका थिए । पहिलो स्थान हासिल गर्ने कैलालीका बालकिसन चौधरी यसबीचमा सशस्त्र प्रहरीमा भर्ना गएपछि सुरेशले आफूले खेल्न पाउने सोचेका थिए ।
त्यस्तो भएन ।
क्षेत्रीय खेलकुद विकास समितिले राष्ट्रिय खेलकुद परिषद्बाट आएको सान्सो र थाउलोतर्फ २२ खेलाडीको सीमित कोटाअनुसार सान्सोतर्फ १० र थाउलोतर्फ १२ खेलाडीको नामावली पठाउँदा सुरेशको नाम परेन । क्षेत्रबाट आएको नाममा सान्सोको ६० केजीमूनि तौलसमूहमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडी नै छैनन् ।
सुदूरपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्लद्वारा हस्ताक्षरित खेलाडी तथा व्यवस्थापकको नामसहितको पत्र वैशाख ३ गते आएको छ । त्यस पत्रमा सुरेशको नाम छैन । उनै मल्लले वैशाख ५ गते अर्को पत्र लेखेका छन् जहाँ सुरेशलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ ।
यसबारे बुझ्दा कार्यालय प्रमुख मल्लले छनोटमा पहिलो भएका खेलाडीबाट आफू खेल्न नसक्नेबारे जानकारी नभएको र जानकारी भएपछि पुनः पत्र पठाइएको बताए । ‘छनोटमा पहिलो भएका खेलाडीबाट आफू खेल्न नसक्ने जानकारी हामी पाएका थिएनौं, त्यहीअनुसार खाली राखेर पठाएको हो, उनले खेल्न नसक्ने भएपछि त्यस तौलसमूहमा दोस्रो भएका खेलाडीलाई वैकल्पिकमा नाम सिफारिस गरेका हौं,’ मल्लले भने ।
आठौं खेलकुदअन्तर्गत उसुका स्पर्धा शुक्रबारदेखि सुरु भएका छन् । सुरेश खेल्न नपाएपछि घर फर्किएका छन् । उनले प्रशिक्षकले राजनीति गरेर आफूलाई प्रतियोगिताबाट वञ्चित गराएको आरोप लगाए । क्षेत्रीय उसु प्रशिक्षक रतन खातीप्रति आक्रोशित देखिए । उनले भने, ‘पहिलो भएका बालकिसन खेल्न नआउनेबारे मैले गुरु (खाती) सँगै जिल्ला खेलकुद विकास समिति र क्षेत्रीय खेलकुद विकास समितिमा पनि जानकारी गराएको हो । गुरुले मेरो कुरा नसुनी उल्टै मैले जे चाहन्छु त्यही हुन्छ भनेर धम्की दिनुभयो ।’
‘खेलाडीको मिहिनेत देखिने भनेकै यही समयमा हो । मजस्ता नयाँ खेलाडीका लागि त सिक्नलाई झन् धेरै अवसर हो । प्रशिक्षकले बाइपास गर्न खोज्नुभयो । प्रशिक्षकको मनोमानीले गर्दा मैले खेल्न पाइनँ,’ १८ वर्षीय सुरेशले भने, ‘उसु गतिविधि कम भएको ठाउँमा मैले राम्रो गर्ने प्रयास गर्दा प्रोत्साहन गर्नुपर्ने अवस्थामा निराश बनाइयो ।’
उसुका मुख्य प्रशिक्षक अम्मर थिङले क्षेत्रीय खेलकुद विकास समितिबाट आएको पहिलो चिठीलाई आधिकारिक मानेर दर्ता गरिसकेपछि आएको अर्को हस्तलिखित चिठीलाई प्राविधिक समितिले स्वीकार नगरेको जानकारी दिए । ‘सुरुमा आएको चिठीलाई आधिकारिक मानेका छौं, यहाँ आउँदा सबै प्रक्रियासंगत नै देखिन्छ, एउटा तौलसमूहमा खेलाडीले खेल्न नपाएको बारेमा हामीले सुनेका छौं, त्यो क्षेत्रकै समस्या हो,’ उनले भने ।
सुदूरपश्चिम प्रदेशका प्रशिक्षक रतन खातीले भने क्षेत्री खेलकुद विकास समितिका कारण समस्या भएको दावी गरे । ‘सुदूरपश्चिममा उसुलाई विवादमा ल्याउने प्रयास भएको छ । प्रशिक्षकलाई जानकारी नदिइ दोस्रो चिठी अनधिकृत रुपमा आएको छ । छनोटमा पहिलो भएको खेलाडी खेल्न नसक्नेबारे समयमै जानकारी नभएकैले यो अवस्था आएको हो,’ उनले भने ।

खेलकुद

आर्मीलाई पाँच स्वर्ण

- ध्रुव तुलाधर
आर्मीका डिल्ली खत्री प्रतिस्पर्धाका क्रममा ।तस्बिर ः अनिश रेग्मी/कान्तिपुर

(तुलसीपुर, दाङ) - आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको दोस्रो दिन शुक्रबार ६ स्वर्ण पदकको छिनोफानो हुँदा आर्मीले वर्चस्व जमाएको छ । बेलझुन्डीस्थित नवनिर्मित एथलेटिक्सको ट्र्याक एन्ड फिल्डमा आर्मीका खेलाडीले ५ स्वर्ण पदक जितेका छन् । एक अर्को स्वर्ण पुलिसकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसाथ जितेकी छन् ।
चन्द्रकलाले कीर्तिमान अभियानलाई दिँदै शुक्रबार महिला ज्याभलिन थ्रोको स्वर्ण जितेकी हुन् । उनले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै ४४ दशमलब ५ मिटरको नया कीर्तिमान रचिन् । यसअघि उनको नाममा ४३ दशमलब ९४ मिटरको कीर्तिमान थियो । जुन उनले इटहरीमा आयोजित सातौं राष्टिय खेलकुदमा स्थापित गरेकी थिइन् ।
अघिल्लो दिन उनले महिला शटपुटमा कीर्तिमान राखेकी थिइन् । चन्द्रकलाले स्वर्ण जित्दा आर्मीकी लक्ष्मी थारुले ४१.२६ मिटरबाट रजत र एपीएफकी सीमाकुमारी थारुले ३८.३० मिटरबाट कांस्य पदक जितेका छन् ।
आर्मीलाई सरस्वती भट्टराई, टंक कार्की, डिल्ली खत्री, कृष्णा चौधरी र रोहित चौधरीले स्वर्ण दिलाएका हुन् । महिला १५०० मिटर दौडमा सरस्वतीले ४ मिनेट ३६.०० सेकेन्डबाट स्वर्ण जितिन् । प्रदेश ३ की सन्तोषी श्रेष्ठले ४ मिनेट ३७.७ सेकेन्डको टाइमिङमा रजत र एपीएफकी फुलमती रानाले ४ मिनेट ४८.०५ सेकेन्डबाट कांस्य जितेका हुन् ।
पुरुष १५ मिटर दौडको स्वर्ण टंकले ४ मिनेट ०१.८६ सेकेन्डबाट जिते । उनका निकट रहेका आफ्नै टिमका उमेश मर्स्याङ्दी मगरले ४ मिनेट ०३.०८ सेकेन्डमा दूरी तय गर्दै रजत जिते । कास्य एपीएफका सन्तोष विष्टले जित्दा ४ मिनेट ०८.१८ सेकेन्डको समय लिए ।
फिल्डतर्फ आर्मी खेलाडी हाबी हुँदा डिल्ली खत्रीले लङजम्पमा स्वर्ण जिते । उनले ६.९६ मिटर जम्प गर्दै राष्ट्रियको स्वर्ण आफ्नो नाममा लेखाए । प्रदेश ३ का भुवन महतोले ६.७२ मिटरबाट रजत र पुलिसका गोपाल चौधरीले ६.३६ मिटरबाट कास्य पदक जिते । महिला लङजम्पमा कृष्णाले स्वर्ण जित्दा ५.२१ मिटर नापेकी थिइन् । एपीएफकी शीला चौधरीले ४.१४ मिटर र प्रदेश ३ की जयरानी चौधरीले ५.११ मिटरबाट रजत र कांस्य जितेका छन् ।
पुरुष ज्याभलिन थ्रोको स्वर्ण आर्मीका रोहितले जितेका हुन् । उनले उनले ५६.५८ मिटर टाढा ज्याभलिन फाल्दै उपाधि जिते । एपीएफका मनोज डगौराले रजत जित्दा ५३.३८ मिटर नापेका थिए । कांस्य जितेका पुलिसका वीरेन्द्र चौधरीले ५२.५३ मिटरको नाप लिए । दोस्रो दिनसम्म एथलेटिक्समा विभागीय टोलीका खेलाडीको वर्चस्वबीच प्रदेशका खेलाडीको पदक जित न्यून मात्रमा जितेको छ ।

Page 9
खेलकुद

कान्छीको कमाल

चन्द्रकला लामगादेले सातौं राष्ट्रिय खेलकुदमा जितेको कीर्तिमानसहितको दुई स्वर्ण पदकलाई जारी आठौं राष्ट्रियमा पनि निरन्तरता दिएकी छन् 
- ध्रुव तुलाधर

(बेलझुण्डी, दाङ) - सात दिदीबहिनीमा सबैभन्दा कान्छी । त्यसमा एउटा दाजु र भाइ पनि छ । परिवारकी कान्छी छोरी भएकाले टोलछिमेकमा उनी कान्छी भनेर चिनिन्छन् । ताप्लेजुङ जिल्लाको चाँगे २ की यिनै कान्छीको राष्ट्रियस्तरमा भने एउटा परिचय स्थापित छ, सफल राष्ट्रिय खेलाडी ।
कान्छी अर्थात् चन्द्रकला लामागादेले आठौं राष्ट्रिय खेलकुदमा कीर्तिमानसहित लगातार दुई स्वर्ण जितिसकेकी छन् । बेलझुण्डीमा जारी एथलेटिक्सको महिला ज्याभलिन थ्रोमा उनले शुक्रबार राष्ट्रिय कीर्तिमान रचिन् । अघिल्लो दिन बनेको एकमात्र कीर्तिमान पनि उनकै नाममा थियो । त्यो कीर्तिमान चन्द्रकलाले सटपुटमा बनाएकी थिइन् । उनले विगत केही वर्षयता सटपुटमा चारपल्ट र ज्याभलिन थ्रोमा तीनपल्ट कीर्तिमान सुधार गरिसकेकी छन् ।
चन्द्रकला नेपाल पुलिस क्लबकी खेलाडी हुन् । पुलिसमा आबद्ध भएको पनि झन्डै ६ वर्ष भइसक्यो । २०७० सालदेखि पुलिसमा छिन् । स्कुलस्तरमा हुने राष्ट्रपति रनिङ सिल्डबाट उदाएकी हुन् उनी । सानोमा फुटबल खेल्थिन् । ६(७ कक्षा पढाताकादेखि नै ज्याभलिन र सटपुट फाल्न सुरु गरिन् । त्यसमै रस बस्दै गयो । भन्छिन्, ‘अहिले त यसमै रमाइलो लाग्छ, खेल्दा सन्तुष्ट हुन्छु । पदक जित्दा त झन् खुसी नहुने कुरै भएन ।’
पछिल्लो समयमा चन्द्रकलालाई एकपछि अर्को सफलता दिलाइरहेकी छन् । हरेक राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रदर्शन सुधार्दै कीर्तिमान बनाइरहेकी छन् । छैटौं राष्ट्रिय खेलकुदपछि भएका सबै प्रतियोगिताको आफ्नो इभेन्टमा उनले सफलता भेट्टाएकी छन् । भनौं, एकछत्र राज गरेकी छन् । छैटौंमा पूर्वाञ्चलबाट खेल्दा भने उनी ज्याभलिनमा चौथो स्थानमा रहेकी थिइन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।
शुक्रबार ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमान बनाउँदा सातौं राष्ट्रिय खेलकुदलाई बिट गरेकी हुन् । उनले इटहरीमा सम्पन्न सातौं संस्करणमा ४३ दशमलब ९४ मिटरलाई पछाडि पार्दै ४४.०५ मिटरको नयाँ दूरी नापिन् । ‘आफूले गरेको मिहिनेतअनुसार रेकर्ड हुन्छ होला जस्तो लागेको थियो । बन्यो, एकदमै खुसी छु,’ उनले भनिन्, ‘अझै राम्रो गर्दै जाने हो ।’ सातौंमा पनि दुवैमा इभेन्टमा स्वर्ण जित्नेक्रममा राष्ट्रिय कीर्तिमान बनाई उनी उत्कृष्ट खेलाडी भएकी थिइन् ।
यो सफलता पनि चन्द्रकलाको आफ्नै लगन र मिहिनेतका कारण प्राप्त हो । उनका लागि प्रशिक्षक छैनन् । प्रशिक्षक भनेको नै युट्युब भिडियोहरू हुन् । एथलेटिक्समा ट्रयाकका लागि धेरै प्रशिक्षकहरू भेटिए पनि फिल्ड र थ्रोमै विशेष दख्खल भएका नेपाली प्रशिक्षक पाउन गाह्रो रहेको उनको बुझाइ छ । भन्छिन्, ‘नेपालमा थ्रो सिकाउने गुरुहरू नै छैनन् । म त युट्युब हेरेर धेरै कुरा सिक्छु । त्यो हेरेर सटपुट कसरी हान्ने, ज्याभलिन कसरी फाल्ने, कुन स्पिड गर्नेजस्ता पक्षमा ध्यान दिन गरेकी छु ।’
ट्रेनिङ पाए अझै राम्रो गर्ने आँट उनीभित्र छ । ‘सेवासुविधासहित प्रशिक्षण पाए योभन्दा राम्रो गर्न सक्छु भन्ने आँट छ,’ उनले गर्विलो हुँदै भनिन् । अहिले उनलाई विभागमा रहेकाले पुलिस क्लबको राम्रो सपोर्ट छ । सबैले हौसला दिने गरेको सुनाउँछिन् । पब्लिकमा रहेको भए आफूले यत्तिको गर्न नसकिने उनी बताउँछिन् । त्यसैले मैले विभागलाई धन्य भन्नुपर्छ ।
त्यही विभागमा उनका लागि दख्खलप्राप्त प्रशिक्षक भने छैनन् । प्रशिक्षणलाई व्यवस्थित ठाउँ छैन । दशरथ रंगशालाको अवस्था निर्माणधीन छ । त्यसैले यसै प्रतियोगिताको लागि उनले राजधानीको टुँडिखेलमा अभ्यास गर्नुपरेको थियो । त्यहाँ अभ्यास गर्दाको तीतो अनुभव सुनाइनन् । ‘बिहानै गयो पाइला टेक्ने ठाउँ हुँदैन । दिउँसो जाँदा घाम चर्केर ट्रेनिङ गर्न सकिँदैन । मान्छे कहिले खालि होला र ज्याभलिन फान्न पाऊँ भनेर कुरेर बस्नुपर्थ्यो,’ चन्द्रकलाले भनिन्, ‘भीडमा जथाभावी फालेर भएन ।’
उनीसँग अन्तर्राष्ट्रिय प्रतियोगितामा १२ औं साग खेलकुद र एसियन ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिप खेलेको अनुभव छ । सागमा सटपुटमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । नेपालमै आयोजना हुने १३ औं सागका लागि के छ लक्ष्य भनेर सोध्दा स्वर्णधारी उनी भन्छिन्, ‘पदक जित्छु भनेर मात्र हुँदैन । त्यहीअनुसार सबै कुराको साथ हुनुपर्‍यो । विशेषत सम्बन्धित फिल्डका प्रशिक्षकबाट अभ्यास पार्नुपर्‍यो । आफूले मिहिनेत गर्नुपर्‍यो । सफलता त आइहाल्छ नि ।’
पछिल्लो समय उनले नेपालको थ्रो इभेन्टमा स्तर खस्किएको दृष्टान्त दिइन् । उनी विगतका राष्ट्रिय कीर्तिमानभन्दा धेरै कम हानेर पनि पदक जित्न सकिने बताउँछिन् । त्यो भने स्तर बढ्न नसक्नु हो । यस राष्ट्रियमा पनि पुरुषतर्फ आर्मीका टेकप्रसाद दाहालले १२.१९ मिटर फालेर स्वर्ण जिते । जबकि यसको राष्टिय कीर्तिमान उजिरसिंह विष्टको नाममा १३.९२ मिटरको छ । जुन विष्टले आठौं साफ खेलकुद १९९९ मा बनाएका थिए । ज्याभलिनमा पनि आर्मीका रोहित चौधरीले ५६.५८ मिटर फाल्दै स्वर्ण जितेका छन् । यसको राष्ट्रिय कीर्तिमान भनेको ७०.३९ मिटरको छ । त्यो खुर्सिद अहमद खानले आठौं साफ खेलकुदका क्रममा बनाएका थिए ।
यो किमिसको प्रदर्शन आउनु भनेको विशेषज्ञ प्रशिक्षक नहुनु नै हो । चन्द्रकला भन्छिन्, ‘हामीले गर्न नसक्ने के छ ? हिजोका दिनमा अग्रजहरूले गर्नुभएको थियो भने हामी पनि गर्न सक्छौं । तर सम्बन्धित फिल्डका ट्रेनर हुनुपर्‍यो । हाम्रो पहिलो आवश्यकता त्यो नै हो ।’
स्कुलमा खेल्दा देवी बराल सरले प्रेरित गर्नुहुन्थ्यो । सटपुट फाल्न प्रेरित गर्दै बराल सरले भनेको सम्झिइन्, ‘तिम्रो ज्यान छ । तिमीले फाल्न सक्छौं भन्नुहुन्थ्यो ।’ त्यसरी नै सिक्दै अगाडि बढेकी चन्द्रकलाको खेल देखेर ताप्लेजुङमै राष्ट्रपति सिल्डमा खेल्दा बालकुमार साँवा प्रभावित हुनुभयो । पुलिस जाऊ राम्रो हुन्छ भनेर आफूलाई विभागमा अनुबन्धित गराएको उनी सम्झन्छन् । भन्छिन्, ‘यहाँसम्म आइपुग्न उहाँहरूको प्रेरणा छ ।’
उहाँहरूले भने जस्तै उनलाई शरीरले पनि साथ दिएको छ । ५ फिट ५ इन्च उचाइकी २६ वर्षीया उनी ८० केजीकी छिन् । सुगठित शरीर छ । ‘नत्र १० पाउन्डको सटपुट र ६ सय ग्रामको ज्याभलिन फाल्नलाई कहाँबाट बल आउँछ त । यत्तिको ज्यान त चाहिन्छ होइन र ?,’ उनले ठट्यौली पारामा कुराको बिट मारिन् ।
एउटा राष्ट्रिय कीर्तिमानवापत सरकारले २५ हजार रुपैया दिने घोषणा गरिसकेको छ । दुई राष्ट्रिय कीर्तिमान बनाएकीले चन्द्रकलाले ५० हजार पाउने छिन् । दुई स्वर्णको ३० हजार जोडा यस राष्ट्रियबाट ८० हजार उनको हात पर्ने छ । खर्च के मा गर्ने विचार छ त ? भन्छिन्, ‘थ्रो गर्दा पनि रनिङ सुज लगाएर गरिरहेकी छु । स्पाइक किन्छु । सटपुटका लागि पनि छुट्टै स्पाइक किन्छु । पैसा आउन पर्‍यो । त्यस्तैमा खर्च हुन्छ होला ।’ उनको भनाईले फेरि नेपाली खेलाडीको टडकारो समस्या इंगित गर्छ । विभागीय खेलाडीलाई त एक जोर जुत्ता किन्न यस्तो अवसर कुर्नुपर्छ भने प्रदेशबाट आउने खेलाडीको हालत के होला भनेर ।

खेलकुद

राजु र संगीताको राष्ट्रिय कीर्तिमान

- मधु शाही,कुशल तिमल्सिना
त्रिभुवन आर्मी क्लबका राजु चौधरी भार उचाल्ने क्रममा । नेपाल पुलिसकी संगीता राई (तल) राष्ट्रिय कीर्तिमान बनाएपछि । तस्बिर ः केशव थापा/कान्तिपुर

(बाँके) - त्रिभुवन आर्मी क्लबका राजु चौधरी, नेपाल पुलिसका संगीता राई र मुई लामाले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत शुक्रबारदेखि सुरु भएको भारत्तोलनतर्फ आआफ्नो तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमान बनाए । नेपालगन्जको नगर भवनमा भएको स्पर्धामा पुरुष ६१ केजी तौलसमूहमा राजुले क्लिन एन्ड जर्क र कुलतर्फ तथा मुईले स्न्याचतर्फ कीर्तिमान बनाउँदा महिलाको ४९ केजीमुनि संगीताले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
राजुले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा १ सय १० गरी कुल २ सय केजी भार बहन गरी स्वर्ण जिते । यस तौलमा रजत पदक जितेका मुईले स्न्याचतर्फ ९२ केजी भार बहन गरी नयाँ राष्ट्रिय कीर्तिमान बनाए । मुईले क्लिन एन्ड जर्कतर्फ १ सय ५ केजी गरी कुल १ सय ९७ केजी भार उचाले । आर्मीकै सन्तोष थपलियाले स्न्याचतर्फ ८१ र क्लिन एन्ड जर्कतर्फ १ सय केजी गरी कुल १ सय ८१ केजी भार बहन गरी कास्य जिते ।
पुरुष ६१ केजी तौलमा यसअघि तुसार बुढामगरले फागुनमा भएको क्षेत्रीय छनोटमा राखेको स्न्याचतर्फ ७२ र क्लिन एन्ड जर्कतर्फ ९२ गरी कुल १ सय ६४ केजीको कीर्तिमान तोडिएको हो । कीर्तिमानसहित स्वर्ण जितेपछि खुसियाली साट्दै आर्मीका राजुले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्न राष्ट्रिय नतिजाले प्रोत्साहन मिल्ने बताए । सातौं राष्ट्रिय खेलकुद र २०७४ मा भएको राखेप च्याम्पियनसिपमा पनि राजुले आफ्नो तौलसमूहमा स्वर्ण जितेका थिए । त्यतिबेला उनी ६२ केजी तौलसमूहमा खेल्ने गरेका थिए ।
महिलातर्फ ४९ केजीमुनि संगीताले स्न्याचतर्फ ५८ र क्लिन एण्ड जर्कतर्फ ७५ केजी गरी कुल १ सय ३३ केजी उचाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । ४८ केजीमा प्रतिस्पर्धा गर्ने उनी भारत्तोलनको नियम परिवर्तन भएसँगै ४९ केजी स्पर्धामा खेल्न थालेकी हुन् । राष्ट्रिय खेलकुदमा दोस्रो सभागिता भए पनि उदयपुरकी २६ वर्षीय संगीताले पहिलो स्वर्ण जितेकी हुन् । ‘सातौं खेलकुदमा दोस्रो भएकी थिएँ, यसपटक धेरै आशा थियो कि राम्रो गर्न सक्छु भन्ने,’ ७ वर्षदेखि नेपाल पुलिस क्लबबाट खेलिरहेकी संगीताले भनिन्, ‘योजनाअनुसार सफल भएको छु, सपना पूरा भयो ।’
संगीताले अब अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार हुने बताइन् । नेपालमै हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुदमा राम्रो गर्नेगरी तयारी थाल्ने संगीताको योजना छ । राष्ट्रिय खेलकुदमा स्वर्ण दिलाउन सहयोग गर्ने परिवार र विभाग सबैलाई उनले धन्यवादसमेत दिइन् । म्हिलाको ४९ केजीमुनिमा स्न्याचतर्फ ४५ तथा क्लिन एन्ड जर्कतर्फ ५७ गरी कुल १ सय २ केजी भार बहन गरेकी प्रदेश १ की कृष्ण चौधरीले रजत र घरेलु टोली प्रदेश ५ की पवित्रा थापामगरले कास्य जितिन् । उनले स्न्याचतर्फ ४० र क्लिन एन्ड जर्कतर्फ ४५ गरी कुल ८५ केजी तौल उठाइन् । महिलाको ४५ केजीमुनिमा त्रिभुवन आर्मीकी रिता गुरुङले स्न्याचतर्फ ४५ र क्लिन एन्ड जर्कतर्फ ४५ गरी कुल ९० केजी भार बहन गरी स्वर्ण जितिन् । प्रदेश ५ की हीरामती चौधरीले स्न्याचतर्फ ३० र क्लिन एन्ड जर्कतर्फ ४४ केजी गरी कुल ७७ केजी उचाल्दै रजत र प्रदेश २ की काजल सदाले स्न्याचमा ३० र क्लिन एन्ड जर्कमा ३७ गरी कुल ६७ केजी उचाली कास्य जितिन् ।
विश्व भारत्तोलन महासंघको नियम परिवर्तन भएपछि आठौं खेलकुदमा भारत्तोलनको २० स्पर्धा समावेश गरिएको छ । अहिले महिलाको १० र पुरुषको १० तौलसमूहमा प्रतिस्पर्धा भएको हो । यसअघि सातौं राष्ट्रिय खेलकुदमा १५ स्पर्धा (पुरुष ८ र महिला ७) समाजवेश भएकोमा आर्मी टिम च्याम्पियन बनेको थियो । प्रतियोगिताको पहिलो दिन नै आर्मीले ३ स्वर्ण जितिसकेको छ । पहिलो दिन चार स्पर्धाको फाइनल सम्पन्न भएको हो ।


ह्यान्डबल
राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४३–१५, आर्मीले कर्णाली प्रदेशलाई ४७–१०, प्रदेश १ ले प्रदेश २ लाई २८–१४ र एपीएफले प्रदेश ३ लाई ३९–२३ ले पराजित गर्‍यो । महिलामा गण्डकीले प्रदेश ५ लाई २२–४ र प्रदेश ३ लाई १५–४, आर्मीले कर्णालीलाई ५४–२, सुदूरपश्चिमले प्रदेश २ लाई ७–२ तथा एपीएफले प्रदेश १ लाई २८–१० ले हराए ।

आर्चरी
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरू सम्पन्न भए । महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे । उक्त स्पर्धाको पुरुषमा कास्कीका मुकेश तामाङ, आर्मीका रोशन नगरकोटी, कास्कीका असीम शेरचन, प्रहरीका तिलक पुनसंगै १६ खेलाडीले छनोट चरणमा सफलता पाए ।
पुरुष कम्पाउन्डमा कास्कीका जाग्रित गुरुङ र राजेश राणा, थसाङ स्पोर्ट्स क्लब, काठमाडौंका रमेश भट्टचन र बाँकी २ ले छनोटमा सफलता पाए । पुरुष स्ट्यान्डर्ड ३० मिटरमा आर्मीका तविन गुरुङ, बेस्ट आर्चरी क्लब, काठमाडौंका प्रज्ज्वल ताइ, आर्मीका कमल दानी, अन्नपूर्णका राजकुमार छन्यालसहित ३२ खेलाडी छनोट भए । महिला स्ट्यान्डर्डमा अन्नपूर्णकी अर्चना थापा, एपीएफकी सोनुजया राई, अन्नपूर्णकी अनुशा गुरुङ, आर्मीकी मन्जु बजगाईंसहित १६ खेलाडी छनोट भए । प्रतियोगितामा ८८ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।

खेलकुद

आर्मीको फराकिलो जित

- मनोज पौडेल

(कपिलवस्तु) - नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले कपिलवस्तुको जितपुरस्थित बुद्ध रंगशालामा जारी महिला फुटबल प्रतियोगितामा विजयी यात्रालाई निरन्तरता दिएका छन् ।
एपीएफले शुक्रबार गण्डकी प्रदेशलाई ११–० ले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । एपीएफकी सावित्रा भण्डारी र अनिता केसीले ह्याट्रिक गरे । अनिता बस्नेतले एपीएफबाट चौथो मिनेटमा पहिलो गोल गरिन् । दोस्रो गोल सावित्राले चौधौं मिनेटमा गरिन् । उनले २६ औं र ३३ औं मिनेटमा गोल गरी ह्याट्रिक गरिन् । गण्डकीलाई निरन्तर दबाबमा राखेको एपीएफले ३६ औं मिनेट अर्को गोल गर्दा पहिलो हाफमा ४ शून्यमा सकियो ।
दोस्रो हाफको चौथो मिनेटमै अनिताले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गोल गरिन् । गण्डकीलाई एकपटक पनि राम्ररी आफ्नो पोस्टमा बल प्रहारको मौका नदिएको एपीएफले गोल गर्ने क्रम रोकेन् । ५३ औं मिनेटमा रेनुका नगरकोटीले गोल थपिन् । ५७ औं मिनेटमा अनु लामाले गोल गरिन् । अनिता केसीले ७७ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरिन् । अन्तिम मिनेटमा गीता रानामगरले गोल गरिन् ।
आर्मीले प्रदेश १ लाई ८–० गोलले पराजित गर्‍यो । पहिलो हाफमा आर्मीले दुई गोल मात्र गरेको थियो । पाँचौं मिनेटमा कृष्णा खत्रीले पहिलो गोल गरी आर्मीलाई अग्रता दिलाइन् । १५ औं मिनेटमा विमला चौधरीले दोस्रो गोल गरिन् । ५६ औं र ७४ औं मिनेटमा सपना लामाले दुई गोल गरिन् । इन्दिरा राईले ६० औं मिनेटमा र कृष्णाले ७३, ८० र ९० औं मिनेटमा गरिन् । कप्तान कृष्णाले ४ गोल गर्दै प्लेयर अफ द म्याच भइन् । प्रदेश १ ले २/३ वटा प्रहार पोस्टमा गरे पनि गोलको खाता खोल्न सकेन् । प्रदेश १ की गोलरक्षक वितिसा राजवंशीको उत्कृष्ट प्रदर्शनका कारण थप गोल हुनबाट रोकिएको थियो । उनको खेलको धेरै दर्शकले प्रशंसा गरे ।

खेलकुद

एपीएफका दुवै जोडी फाइनलमा

- दुर्गालाल केसी

(दाङ) - आठौं राष्ट्रिय खेलकुदअन्तर्गतको ४० औं राष्ट्रिय ब्याडमिन्टनको मिक्स डबल्समा एपीएफका दुवै जोडी फाइनलमा प्रवेश गरेका छन् । एपीएफका पूजा श्रेष्ठ र दिपेश धामी तथा जेशिका गुरुङ र गौतम सिंह कठायतको जोडी उपाधि भिडन्तमा उत्रने छन् । श्रेष्ठ र धामीको जोडीले सेनाका अमिता गिरी र नवीन श्रेष्ठको जोडीलाई १६–२१, २१–९ र २१–११ ले तथा गुरुङ र कठायतको जोडीले सेनाकै अनुमाया राई र रत्नजित तामाङको जोडीमाथि १०–२१, २१–१९ र २१–१७ को जित निकाले ।
पुरुष एकलतर्फ पुरानै प्रतिद्वन्द्वीबीच उपाधिलाई प्रतिस्पर्धा हुने भएको छ । सेनाका रत्नजित तामाङले टिम प्रतिस्पर्धाको पुरुष एकलमा भएको लज्जास्पद हारको बदला लिंदै सुदूरपश्चिम प्रदेशका प्रिन्स दाहाललाई २१–११ र २१–९ को सहज जित निकाले । अब उनले चिरपरिचित प्रतिद्वन्द्वी एपीएफका दिपेश धामीसँग प्रतिस्पर्धा गर्ने छन् । टिम प्रतिस्पर्धाको पुरुष एकलमा प्रिन्सले रत्नलाई माथ दिए । दिपेशले प्रदेश एकका विकास श्रेष्ठलाई २१–११ र २१–१५ ले पाखा लगाए ।
घोराहीस्थित कभर्डहलमा महिला एकलको फाइनलमा सेनाका दुवै खेलाडी नङशलदेवी तामाङ र रसिला महर्जनले प्रतिस्पर्धा गर्ने छन् । पहिलो सेमिफाइनलमा तामाङले प्रदेश १ की सीता राईलाई २१–१७ र २१–९ ले र महर्जनले आफ्नै क्लबकी अनुमाया राईलाई २१–१७ र २१–१८ ले हराए । पुरुष डबल्सतर्फ एपीएफका दिपेश धामी र विजित थापा मगरको जोडीले एपीएफका सुरोज महर्जन र प्रफुल्ल महर्जनको जोडीलाई २१–१३ र २१–१२ ले पराजित गरे । उनीहरूले यस क्रसमा सेनाका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीसँग भिडन्त पक्का गरे । तामाङ र श्रेष्ठको जोडीले सेनाकै पविन लिनथेप र रुकेश महर्जनको जोडीलाई २१–११ र २१–१९ ले पराजित गरे । महिला डबल्समा सेनाका नङशलदेवी तामाङ र अनुमाया राईको जोडीले प्रदेश १ का सीता राई र सीमा राजवंशीको जोडीमाथि २१–१२ र २१–१८ को जित निकाले । उनीहरूले फाइनलमा एपीएफका पूजा श्रेष्ठ र जेसिका गुरुङसँग खेल्नेछ । पूजा र जेसिकाले सेनाका अमिता गिरी र रसिला महर्जनको जोडीलाई २१–१६ र २१–१८ ले पन्छाए ।

खेलकुद

एपीएफ सेमिफाइनलमा

- कान्तिपुर संवाददाता

नेपाल एपीएफm क्लबले शुक्रबार लमही त्रिकेट मैदानमा दोस्रो जित निकाल्दै महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । टोलीले प्रदेश ३ लाई ९ विकेटले हरायो ।
टस जितेको प्रदेश ३ केवल १५.२ ओभर खेल्दै ३४ रनमा अलआउट भयो । कुनै ब्याटसवुमनले दोहोरो अंक जोड्न सकेनन् । एपीएफकी रितुकुमारी कनोजियाले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिएर ४ विकेट लिइन् । करुणा भण्डारी र सरिता मगरले २/२ विकेट लिइन् ।
एपीएफले ५.२ ओभर खेल्दै ३६ रन बनायो । एपीएफका कप्तान सरिता मगरले अविजित १७ रन बनाइन् । इन्दु बर्माले १४ रन जोडिन् । बलिङतर्फ प्रदेश ३ की गीता कुमारी शाहीले १ विकेट लिइन् । वुमन अफ द म्याच एपीएफकी रितु घोषित भइन् ।
प्रदेश ५ ले अर्को खेलमा १ सय १ रनले जितेको छ । प्रदेश ५ ले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाई १ सय ६९ रन जोड्यो । नेरी थापाले अविजित ६७ रन बनाइन् । सरस्वती पुनले ३७ र सरस्वती जीएमले १७ रन जोडिन् । गण्डकी प्रदेशका सृष्टि पौडेलले २ तथा निशा लामिछाने र शिला रेग्मी १/१ विकेट लिए । गण्डकीले २० ओभर खेली ८ विकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो । धन छन्त्यालले १४ र सृष्टि पौडेल १० रन जोडिन् । प्रदेश ५ बाट बलिङतर्फ लक्ष्मी चौधरी र सरस्वती पुनले २/२ विकेट लिए । शर्मिला रोका, कृतिका मरस्मी र मनीषा राना १/१ विकेट लिए । नेरी वुमन अफ द म्याच भइन् ।

खेलकुद

प्रदेश ५ विजयी

- माधव ढुंगाना

(भैरहवा) - पुरुष क्रिकेटमा भैरहवामा सम्पन्न खेलमा नेपाल प्रहरी क्लव र प्रदेश ५ विजयी भएका छन् । प्रहरीले गण्डकी प्रदेशलाई २८ रनले र प्रदेश ५ ले सुदूरपश्चिम प्रदेशलाई २२ रनले पराजित गर्‍यो । टस जितेको प्रहरीले १९.५ ओभरमा १ सय ३५ रनमा अलआउट भयो । कुशल भुर्तेल सात चौकाको मद्दतले ३६ बलमा ४५ रन बनाई बोल्ड भए । अमित श्रेष्ठ २ चौका सहित १६, दीपेन्द्रसिंह ऐरी ११, आरिफ शेख चार चौकासहित ३४ र हिमांशु दत्त ११ रनमा बोल्डआउट भए । गण्डकीका करण केसी, किशोर महतो, विपीन खत्री र अमृत गुरुङले २–२ विकेट लिए ।
गण्डकीले ७ विकेट गुमाई १ सय ७ रनमात्र बनाउन सक्यो । सुमन घिमिरे २८, आकाश थापा ३ चौका र १ छक्कासहित ३०, रमेश भट्ट १, अनिल गुरुङ २, करण ९, राहुल शर्मा ८ रनमा आउट भए । अमृत ९ र मेघबहादुर थापाले १ रनमा अविजित रहे । प्रहरीका रामनरेश गिरीले २, दीपेन्द्र, आरिफ शेख र ललित राजवंशीले १–१ विकेट लिए । आरिफ म्यान अफ दी म्याच भए ।
अर्को खेलमा पहिला टस जितेको प्रदेश ५ ले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३७ रन बनायो । राजवीर सिंह २ छक्का र ६ चौकाको मद्दतले ४० बलमा ५८ रन बनाए । सुरज दराइले २ चौकाको मद्दतले ३७ बलमा ३३ रन बनाए । राजवीर र सुरजको जोडीले पाँचौं विकेटमा ७४ रन जोडे । सुवेन्दु पाण्डे ९, सन्दिप सुनार ७, सौरभ खनाल २, अनुपम सिंह २, कृष्ण कार्की ७, सिद्धान्त सिंहले अविजित २ रन र आकाश विष्टले अविजित ३ रन बनाए । सुदूरपश्चिमका विकास एग्रीले ४ विकेट लिए । अरुण ऐरीले २ तथा दीपेन्द्र एग्री र नरेन्द्र साउदले १–१ विकेट लिए ।
सुदूपश्चिमले ९ विकेट क्षतिमा १ सय १५ रन मात्रै बनायो । खड्ग बोहराले ३८ बलमा २ चौकासहित ३२, सन्जु दमाईले १५ बलमा एक छक्का र २ चौकाको मद्दतले २०, अरुण ऐरीले २ चौका सहित ३१ बलमा ३५ रन बनाए । लोकेश बम ६, किरण ठामुन्ना ८, शेर मल्ल ३, दीपेन्द्र एग्री २, महेश अधिकारी २, सुशील खड्का १ रनमा आउट भए । प्रदेश ५ का सन्दिप सुनार र विक्रम भुसालले २–२ तथा कृष्ण कार्कीले १ विकेट लिए । राजवीर म्यान अफ दी म्याच भए ।

Page 10
खेलकुद

थ्रीस्टारलाई राजर्षि जनक कप

- ओमप्रकाश ठाकुर

(सर्लाही) - रुस्लान थ्रीस्टार क्लबले प्रदेश दुईको सर्वाधिक धनराशिको राजर्षि जनक कप फुटबल जितेको छ । सर्लाहीको वाग्मतीस्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा शुक्रबार फाइनलमा वाग्मती नगरपालिकालाई २–१ गोलले पराजित गर्दै थ्रीस्टारले १० लाख रुपैयाँसहित ट्रफी उचालेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो मिनेटमा वाग्मतीका विमल घर्तीमगरले गरेको प्रयास असफल भयो । दोस्रो मिनेटमा थ्रीस्टारका सुनिल बलको प्रयासलाई वाग्मतीका किपरले गोल हुनबाट जोगाए ।
६४ औं मिनेटमा वाग्मतीका तर्फबाट एकने क्रिस्टियानले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । एक मिनेट नबित्दै थ्रीस्टारले बराबरी गर्‍यो । पेनाल्टी बक्सभित्र वाग्मतीका खेलाडीले फाउल गरेपछि थ्रीस्टारले पाएको पेनाल्टीमा रेजिन धिमालले गोल गरे ।
इन्जुरी समयमा थ्रीस्टारका मानषा बेभोकुइको पासमा सुशील राईले अर्को गोल थपे । उपविजेता वाग्मतीले ५ लाखमै चित्त बुझायो । म्यान अफ द म्याच वाग्मतीका विजय घलानले १० हजार रुपैयाँ पाए । थ्रीस्टारका खेलाडीले पटकपटक गोलका लागि गरेको प्रयास वाग्मतीका गोलरक्षक अरुण तामाङले जोगाए । उनी नै उत्कृष्ट गोलरक्षक बने । उनले २० हजार रुपैयाँ हात पारे । सर्वाधिक गोलकर्ता थ्रीस्टारका सुशील राई भए । उनले ४ गोल गरेका थिए । उत्कृष्ट रक्षक वाग्मतीका एकने क्रिस्टियान र मिडफिल्डर थ्रीस्टारका विक्रम लामा भए । प्रशिक्षकमा थ्रीस्टारका मेघराज केसी उत्कृष्ट घोषित भए । वाग्मती राइजिङ अफ द इयर प्लेयर घरेलु टोली वाग्मती खेलाडी सगुन राई भए । उनले १५० सीसीको यामाहा मोटरसाइकल पाए । उत्कृष्ट सबैले जनही २० हजार पुरस्कार पाए ।
थ्रीस्टारका प्रशिक्षक केसीले नयाँ वर्षको अवसरमा राजर्षि जनक कप भित्र्याउन पाउँदा निकै खुसी लागेको बताए । ‘विपक्षी टिममा विमलसहित अन्य राष्ट्रिय खेलाडी थिए, त्यसकारण खेल जित्न निकै संघर्ष गर्नुपर्‍यो,’ उनले भने, खेलाडीको मिहिनेत र रणनीतिका कारण हामी जित्न सफल भयौं, निकै खुसी लागेको छ, नयाँ वर्षमा उपहार पाएको जस्तो भयो ।’ उनले विपक्षी टिमको खुलेरै प्रशंसा गरे । उनले वाग्मतीमा राष्ट्रिय खेलाडीसहित स्थानीय खेलाडी प्रस्तुति उत्कृष्ट रहेको सुनाए ।

खेलकुद

आर्सनल सेमिफाइनलमा

- एएफपी

नेपल्स – अलेक्जेन्डर लाकाजेटको एकमात्र गोलमा आर्सनल १–० ले बिहीबार नेपोलीलाई पन्छाउँदै समग्रमा ३–० को जितसहित युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लाकाजेटले ३६ औं मिनेटमा फ्रि–किकमा गोल गर्दै फाइनल प्रवेशको लागि स्पेनी क्लब भ्यालेन्सियाविरुद्ध खेल्ने पक्का गरेको हो । ‘यो सिजनको उत्कृष्ट प्रदर्शन यही हो भन्ने मलाई थाहा छैन तर राम्रो रह्यो । विशेषतः सोमबार वाटफोर्डलाई पराजित गरेपछि,’ आर्सनलका प्रशिक्षक उनाई इमरेले भने, ‘हाम्रो चाहना गोल गर्ने हो, हामीले त्यो गर्‍यौं, जित्यौं । नब्बे मिनेट एकरूपको रह्यो । खेलाडीप्रति गर्व छ । कामप्रति गर्व छ । खेलाडीहरूले व्यक्तित्व देखाए ।’
बिहीबार भएको क्वाटरफाइनलको दोस्रो लेगको अन्य खेलमा चेल्सीले स्लाभिया प्रागलाई ४–३ ले पराजित गरी ५–३ को अग्रतामा, भ्यालेन्सियाले भिलारिएललाई २–० ले पराजित गरी ५–१ को अग्रतामा अगाडि बढ्यो । फ्रान्कफर्टले बेन्फिकालाई बेन्फिकालाई २–० ले पराजित गरेपछि टाई ४–४ हुन पुग्यो र जर्मन टोली ‘अवे’ गोलका आधारमा सेमिफाइनलमा पुग्यो ।

Page 11
अर्थ वाणिज्य

‘समीक्षा गर्दै छौं’

एनसेललाई कर
- कान्तिपुर संवाददाता

(काठमाडौं) - एनसेलको मातृ कम्पनी आजियटाले ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकरसम्बन्धी पत्र पाएको जनाएको छ । आजियटाले प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयबाट सात दिनभित्र कर बुझाउने म्यादसहित पत्र पाएको जानकारी गराएको हो । ठूला करदाता कार्यालयको पत्रमा सात दिन अर्थात् वैशाख ९ गते भित्रमा बाँकी कर दाखिला गर्न भनिएको छ । ‘आजियटा र एनसेलले अहिले पत्रको समीक्षा गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
एनसेलमा ८० प्रतिशत स्वामित्व भएको रेनो होल्डिङ्सलाई नर्वेली कम्पनी टेलिया सोनेराबाट आजियटाले २०७२ चैत २९ मा खरिद गरेको थियो । टेलिया सोनेराले नेपालमा भएको स्वामित्व बिक्री गर्दा लाभांश नतिरेको भन्दै लामो समय मुद्दा सर्वोच्च अदालतमा विचाराधीन थियो ।
सर्वोच्चमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहितले एनसेललाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले केही महिनाअघि टेलिया नेपाल छाडिसकेको अवस्थामा तिर्नुपर्ने पुँजीगत लाभकरको दायित्व आजियटा र एनसेलको जिम्मेवारी भएको फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार ठूला करदाता कार्यालयले एनसेलको कर निर्धारण गरेको हो ।
एनसेलको ८० प्रतिशत सेयर १ खर्ब ४४ अर्ब रुपैयाँमा बिक्री भएको थियो । बिक्री हुँदा लाभ भएको रकममा २५ प्रतिशत पुँजीगत लाभकर लाग्छ । ठूला करदाता कार्यालयले ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार रुपैयाँ निर्धारण गरिसकेको छ । ठूला करदाता कार्यालयका अनुसार समयमै कर नबुझाएकाले त्यसमा ५० प्रतिशत अर्थात् १८ अर्ब ३३ करोड ठ लाख ३६ हजार रुपैयाँ जरिवाना लगाइएको छ । यो अवधिको ब्याज ८ अर्ब ३९ करोड ८ लाख लगाइएको छ । जरिवाना र व्याजसहित कर निर्धारण गर्दा एनसेलको कर दायित्व ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार पुगेको हो । एनसेलले यसअघि नै २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार रुपैयाँ बुझाइसकेको छ । बाँकी ३९ अर्ब ६ करोड रुपैयाँ बुझाउन ठूला करदाता कार्यालयले पत्राचार गरेको हो ।
आजियटाले जारी गरेको विज्ञप्तिमा हालसम्म नेपालको कानुन नियमनलाई पूर्ण रूपमा पालना गरेको बताइएको छ । ‘चार वर्षयता एनसेलले १ अर्ब १७ करोड अमेरिकी डलर कर तिरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गत वर्ष मात्रै एनसेलले २५ करोड अमेरिकी डलर बढी कर तिरेको छ जुन नेपालको कल राजस्वको ४ दशमलव २ प्रतिशत हो ।’

अर्थ वाणिज्य

फोजी विस्तार किन महँगो ?

विस्तार गर्न लागेको सेवामा फोजीसहित थप आधुनिक प्रविधि पनि भएकाले महँगो भएको टेलिकमको प्रस्टीकरण
- विजय तिमल्सिना

(काठमाडौं) - फोजी विस्तार किन महँगो ?’ सूचना तथा सञ्चार मन्त्रालय र नेपाल टेलिकमका अधिकारीलाई पछिल्लो समय धेरै गरिने प्रश्न हो यो । देशैभर फोजी विस्तार गर्न नेपाल टेलिकमले माघ २० गते चिनियाँ कम्पनी सीसीएसआई र जेडटीईसँग १९ अर्ब बराबरको सम्झौता गरिसकेको छ । सरकारी स्वामित्वको कम्पनीले गर्न लागेको फोजी विस्तारको लागत बढेको भन्दै संसदीय समितिमा पनि आवाज उठेको थियो । प्रश्न गर्ने प्रायले सोध्छन्, ‘निजी क्षेत्रको दूरसञ्चार कम्पनीले दुई दर्जन सहरमा फोजी विस्तार गर्दा ५ अर्ब पनि लागेन, सरकारी कम्पनीले किन यति धेरै खर्च गर्न लागेको ?’
निरन्तर यही प्रश्न खेपिरहेकाले होला सायद, टेलिकमले बिहीबार पत्रकार सम्मेलन गरी यसको प्रस्टीकरण दिएको छ । प्रस्टीकरणअनुसार फोजी विस्तारको कुल लागत १८ अर्ब ७१ करोड हुनेछ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले टेलिकमले गर्न लागेको फोजी विस्तार अहिले भइरहेको थ्रीजी नेटवर्कको अपग्रेड नभई पूरै नयाँ प्रविधि भएको बताइन् । ‘टेलिकमले विस्तार गर्न लागेको फोजी मुख्य सहरमा मात्रै होइन, देशैभरि हो,’ उनले भनिन्, ‘थ्रीजी नेटवर्कको अपग्रेड गर्दा यसको क्षमता १० लाख मात्रै हुन्थ्यो तर अब फोजीको क्षमता ६५ लाख ग्राहक धान्ने हुन्छ ।’
उनका अनुसार फोजी नेटवर्कमा पछिल्लो प्रविधि र उपकरण प्रयोग साथै बीटीएस टावरमा ब्याट्री र सोलार ब्याकअप राख्न लागिएकाले पनि लागत महँगो परेको हो । टेलिकमको फोजी नेटवर्कमा अधिकतम स्पिड १३० एमबीपीएस हुने उनले जानकारी दिइन् । थ्रीजी नेटवर्कलाई फोजी बनाउँदा अधिकतम स्पिड ३२ एमबीपीएस मात्रै हुन्छ । फोजी विस्तारको क्रममा घना बस्ती र ठूला घरहरू भएका स्थानमा नेटवर्कलाई सुचारु बनाउन करिब छ हजार साना टावर राखिने उनले जानकारी दिइन् ।
टेलिकमको फोजी विस्तारका लागि सर्भेको काम ६५ प्रतिशत सकिएको छ । कोर नेटवर्कका लागि पहिलो चरणका उपकरणहरू आयात भइसकेको छ र आगामी सातादेखि उपकरण जडानको काम सुरु हुँदै छ । हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सीसीएसआई) ले रेडियो एक्सेस नेटवर्क (र्‍यान) र जेडटीईले कोर नेटवर्क विस्तारको काम पाएका छन् । टेलिकमको टावरहरूबीच सम्पर्क स्थापित गराउने काम कोर नेटवर्कले गर्छ भने ग्राहकको फोनबाट टावरसँग सम्पर्क गराउने काम रेडियो एक्सेस नेटवर्कले गर्छ ।
कोर नेटवर्क विस्तारको काम दुई चरणमा बाँडिएको छ । पहिलो चरणको कामका लागि ८ खर्ब ७५ करोड २६ लाख ४९ हजार र दोस्रो चरणका लागि ८ खर्ब ३९ करोड ३१ लख ४६ हजारमा सीसीएसआईले काम पाएको हो । कोर नेटवर्कका लागि जेडटीईसँग १ अर्ब ५६ करोड ७३ लाखमा सम्झौता भएको छ । फोजी नेटवर्कमा फोजी एलटीई सुविधा पनि हुनेछ । भ्वाइस ओभर एलटीई नाम दिइएको यो सुविधाले मोबाइल नेटवर्कमा हुने भ्वाइस कलको गुणस्तर बनाउने जनाइएको छ । डाटाको गतिजत्तिकै भ्वाइस (आवाज) को गति पनि बढ्नेछ । यसले फोन लाग्ने समय पनि घट्नेछ । साथै यो सुविधामा भिडियो कल गर्नका लागि तेस्रो एपको आवश्यकता पनि पर्दैन ।
यसमा हुने सुविधा भ्वाइस ओभर वाइफाई अर्थात् भीओ वाइफाई पनि हो । भीओ वाइफाई भीओएलटीईकै विस्तारित रूप हो । यसको सबैभन्दा ठूलो सुविधा भनेको मोबाइलको नेटवर्कबिना पनि वाइफाईको सहयोगमा फोन लाग्नु हो । कुनै स्थानमा मोबाइल नेटवर्क कम छ वा छँदै छैन तर वाइफाईमा मोबाइल कनेक्ट छ भने वाइफाईकै सहयोगमा अर्को मोबाइल नम्बरमा फोन गर्न सक्नु यसको विशेषता हो । अहिलेका चल्तीमा रहेका २० हजार मूल्य माथिका अधिकांश स्मार्टफोनले यो प्रविधि सपोर्ट गर्छन् । भारतमा पनि जियोसहितका केही मोबाइल सेवा प्रदायकहरूले भर्खरै यो प्रविधि परीक्षणका रूपमा सुरु गरेका छन् ।
टेलिकमले विस्तार गर्न लागेको फोजी नेटवर्कमा पूर्ण रूपमा स्वचालित सेल्फ अर्गनाइजिङ नेटवर्क (एसओएन) प्रविधि रहने टेलिकमले जनाएको छ । यसको अर्थ हो कुनै बीटीएस टावरमा कुनै समस्या आएर नेटवर्कमा गडबडी भए त्योभन्दा पर रहेको अर्को बीटीएस टावरले त्यो समस्या बुझेर आफ्नो क्षेत्र बाहिरको मोबाइललाई नेटवर्क प्रदान गर्नेछ । यो पूर्ण रूपमा स्वचालित प्रविधि हुने टेलिकमले जनाएको छ । फोजी विस्तारपछि भ्वाइस कल र डाटाको मूल्य घटाउन सकिने टेलिकमले जनाएको छ । टेलिकमले काठमाडौं र पोखरामा २०७३ पुस १७ बाट फोजी सेवा सुरु गरेको थियो । नेपालमा पहिलोपटक टेलिकमले फोजी सुरु गरेको भए पनि २०७४ जेठबाट फोजी सेवा सुरु गरेको निजी क्षेत्रको सेवा प्रदायक एनसेलले दुई दर्जन बढी सहरमा सेवा विस्तार गरिसकेको छ ।

अर्थ वाणिज्य

मकैको मःम, मकैकै पकौडा

- सजना बराल
काठमाडौंको चाबहिलमा सञ्चालनमा आएको मकैका परिकारहरू पाइने रेस्टुरेन्ट । तस्बिर ः हेमन्त श्रेष्ठ/कान्तिपुर

(काठमाडौं) - केरा, स्याउ, चिकेन वा मःमकै मात्र विविध परिकार पाइने ठाउँ थुप्रै छन् । मकैको परिकारका लागि पनि अब नयाँ गन्तव्य खुलेको छ, चाबहिल चोकमा । यहाँको ‘मिस्टर कर्न’ रेस्टुरेन्टले मकैका दर्जनौं परिकार तयार पार्छ । अमेरिकन कर्न, कर्न डग्स, कर्न मःम, कर्न फ्रिटर, कर्न चाउमिन, कर्न राइस विद लोकल कुखुराजस्ता परिकार धेरैको जिब्रोमा झुन्डिन थालेका छन् ।
‘युनिक खालका खानेकुरा खान पाइएको छ,’ शुक्रबार दिउँसो रेस्टुरेन्टमा अर्डर दिँदै गरेका कामना विकास बैंकका कर्मचारी दिनेश दाहालले भने, ‘नयाँ स्वाद छ । पहिले पोलेको मकै मात्र खाएको थिएँ । यसरी मकैका मिक्स्ड परिकार पहिलोपटक खाइरहेको छु । मन पर्‍यो ।’ उनी अचेल खाजामा मकैको मःम, मकैको पकौडा र कर्न डग्सलगायत खान्कीको मजा लिन्छन् । यी स्वस्थकर र मीठो भएको उनले बताए । मेनुमा अझै परिकार थप्न सुझावसमेत दिए । मिस्टर कर्नमा २० देखि २ सय ५० रुपैयाँसम्मका परिकार पाइन्छन् । वैशाख १५ सम्म ३० प्रतिशत छुट दिइएको छ ।
मकैलाई ब्रान्डका रूपमा स्थापित गर्न यसका सञ्चालकद्वय राज अधिकार र दुर्गाबहादुर सुवेदी लागिपरेका छन् । ‘हाम्रो कन्सेप्ट नयाँ छ तर कन्सेप्ट मात्र होइन स्वाद नै बेच्न चाहन्छौं,’ अधिकारीले भने, ‘खानेहरूले मन पराइरहनुभएको छ ।’ उनी आफ्ना परिकारबारे धेरैलाई जानकारी दिन खोज्दै छन् ।
चाहबिलबाट बौद्ध जाँदा बायाँतिर रहेको कामना विकास बैंकको भुइँतलामा यो रेस्टुरेन्ट छ । हरियो रङको गेटमा ढाका टोपी लगाएर दंग हाँसेको मकैको लोगो देखिन्छ । खुटकिला टेकेर उँधो झरेपछि मकैकै रङका टेबुल–कुर्सी, भित्ता र बोर्डहरू भए ठाउँ पुगिन्छ । भन्नै परेन, मिस्टर कर्न त्यही हो । अधिकारी र सुवेदीले चैत २४ मा १० लाख रुपैयाँ लगानी गरेर यो रेस्टुरेन्ट सुरु गरेका थिए । तीन जनालाई रोजगारी दिएका छन् ।
सुवेदीका अनुसार रेस्टुरेन्टको व्यापार खासै सप्रिहालेको छैन । दैनिक ४/५ हजार रुपैयाँ मात्रै कमाइ भइरहेको बताए । उनीहरूको लक्ष्य दिनको १० हजार रुपैयाँसम्म आर्जन गर्ने हो । त्यो लक्ष्य चाँडै पूरा हुनेमा विश्वस्त छन् । ‘नयाँनयाँ छौं, प्रचार भइसकेको छैन,’ उनले भने, ‘अरू ठाउँमा पनि चेन खोल्ने योजना छ ।’ उनीहरू नयाँ बानेश्वरतिर ठाउँ खोज्दै छन् । यसपछि अन्य ठाउँ र सहरमा फैलिन चाहेको बताए । मकैका परिकारलाई स्थापित गरिछाड्ने अठोट यी दुईको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकाका स्थानीय यी दुई छिमेकी पनि हुन् । मर्निङ वाकका क्रममा यो रेस्टुरेन्टबारे आइडिया फुरेको बताए । वैदेशिक रोजगारीबाट फर्किएका सुवेदी र इन्जिनियर अधिकारीले रेस्टुरेन्ट खोल्नुअघि मकै र मकैका परिकारबारे थोरबहुत अध्ययन गरेछन् । चामलपछिको महत्त्वपूर्ण अन्न रहे पनि यसलाई ब्रान्डिङ गर्न नेपाल चुकिरहेको देखे । ‘मकै छोडाएर प्याक गर्ने एउटा कम्पनी समेत छैन हामीकहाँ,’ अधिकारीले भने, ‘बजार उपलब्ध स्विट कर्न सबै आयातित हुन् ।’
मिस्टर कर्नमा गुलियो मकैका परिकार धेरै बन्छन् । जापानमा रेस्टुरेन्टमै काम गरेर फर्किएका कमल सुवेदीसहित दिल तामाङ र बालकिशोर बराल मकैलाई विविध स्वादमा उर्तान खप्पिस देखिन्छन् । चाबहिल गणेशथानतिरै पाइने हरिया मकैलाई समेत उनीहरू उसिन्ने, भुट्ने, पकौडा, चाउमिन आदि बनाउन प्रयोग गर्छन् । हामीकहाँ विशेषतः मकैलाई उसिनेर, भुटेर, पोलेर वा ढिँडो/रोटी बनाएर खाने चलन छ । नेपालमा यसलाई यतिमै सीमित राखे पनि भारत, अमेरिका, इजरायल, भेनेजुएलातिर मकैका अनेकौं परिकार बन्ने गरेका छन् । कपितय रेसेपी युट्युबबाट सिक्ने गरेको सुवेदीले बताए ।
रेस्टुरेन्ट सञ्चालमा ल्याउनुअघि सुवेदी र अधिकारीले मकैलाई लिएर रोचक अनुभव सुनेछन् । रेस्टुरेन्ट दर्ता गर्न गएका बेला कम्पनी रजिष्ट्रारको कार्यालयका एक कर्मचारी उनीहरूको योजना सुनेर रन्किएछन् । ‘पहाडमा यही मकै खाएर वाक्क भइएको थियो,’ तिनलाई उद्रित गर्दै सुवेदीले भने, ‘अब फेरी हामीलाई १५ वर्ष अगाडी धकेल्न खोज्ने ?’
यो सुनेर उनीहरू हाँसे । यसले मकैका परिकारलाई लिएर आम मानिसको बुझाइ झल्काउने बताए । यसबाट सातु, ढिँडो वा रोटी मात्रै बन्दैन सी मःमदेखि हट डग्स, चाउमिन र बर्गरसमेत बनाउन सकिन्छ भनेर प्रमाणित गर्न चाहेको बताए ।

Page 12
अर्थ वाणिज्य

प्रदेश कार्यक्रममा स्थानीय तहको अरुचि

- लालप्रसाद शर्मा

(पोखरा) - गण्डकी प्रदेश सरकारले विभिन्न स्थानमा १६ प्रहरी चौकी भवन बनाउन ४ करोड रुपैयाँ बजेट विनियोजन गर्‍यो । स्थानीय तहसँगको साझेदारीअन्तर्गत उच्च हिमाली, पहाडी र सीमा क्षेत्रमा त्यस्ता चौकी बनाउने योजना हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत पुस २ को मन्त्रीस्तरीय निर्णयमार्फत निर्माण प्रक्रिया अघि बढायो । चौकी निर्माणका लागि सम्झौता आह्वान गरे पनि स्थानीय तह आएनन् । अन्तिममा ती चौकी प्रदेशकै भौतिक पूर्वाधार बिकास मन्त्रालयमार्फत बनाउन अख्तियारी दिने मन्त्रिपरिषद्ले निर्णय गर्‍यो ।


उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि एक स्थानीय तह एक उद्योगग्राम, पर्यटन पदमार्ग, अध्ययन, निर्माण, सुधार तथा सौन्दर्यीकरणजस्ता योजना अघि सारेको छ । उद्योगग्रामका लागि गोरखा र तनहुँबाट ४/४ र बागलुङ र पर्वतबाट २/२ पालिकामा मात्रै सम्भाव्यता अध्ययन हुँदै छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँगको साझेदारीमा ११९ वटा सडक निर्माणका लागि ३९ करोड बजेट विनियोजन गरेको छ । त्यसमा सम्बन्धित पालिकाले ३० प्रतिशत बजेट साझेदारी गर्नुपर्छ । केही स्थानीय तहले ३० प्रतिशत व्यहोर्न नसक्ने भन्दै योजना फिर्ता गरेका छन् ।


३० गाउँपालिकामा बहुद्देश्यीय भवन, सार्वजनिक शौचालय, पार्क निर्माण गर्ने योजना पनि छन् । बहुद्देश्यीय भवन १० पालिका मात्र टेन्डर प्रक्रियामा गएका छन् । अरू काम ‘प्रक्रिया’ मै रहेको मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले गाउँपालिका केन्द्रमा पुस्तकालय स्थापनाका लागि अनुदानको व्यवस्था गरेको छ । १२ मात्रै पालिकाले उक्त रकम लगेका छन् । एक स्थानीय तह एक खेल मैदानको योजना ल्याए पनि सबै स्थानीय तह आएनन् । स्थानीय तहसँगको साझेदारीमा विकास निर्माणलगायत काम गर्ने भन्दै प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि उत्साहसाथ बजेट र कार्यक्रम ल्याएको थियो । प्रदेश सरकारका त्यस्ता योजनामा स्थानीय तहले खासै ‘रुचि’ नदेखाएको माथिकै उदाहरणले पुष्टि गर्छ । यसले प्रदेशका अधिकांश योजना कार्यान्वयन हुने अवस्था देखिँदैन ।


स्थानीय तहले मागेमा हुने तर प्रदेशसँग मिलेर काम गरौं भन्दा नहुने अवस्था रहेको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले आफ्नो अनुभव सुनाइन् । ‘हामी आफैं सरकार हौं हामी आफैं गर्न सक्षम छौं, अरूले अह्राएको काम किन गर्ने भन्ने भावना पनि देखियो,’ उनले भनिन्, ‘पटकपटक सम्पर्क गर्दा पनि खासै चासो देखाएको पाइएन ।’ प्रदेश सरकारका ५ दर्जन बढी शीर्षकमा स्थानीय तहसँगको साझेदारीमा योजना तथा कार्यक्रम गर्ने भन्दै बजेट विनियोजित छ । अधिकांश योजनामा स्थानीय तहले रुचि नदेखाएका हुन् । स्थानीय तहमा विषयगत कर्मचारीको अभाव, प्रदेश सरकारले कार्यविधि बनाउन ढिलाइले पनि कार्यक्रम र योजना कार्यान्वयन नहुने अवस्था रहेको प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारी बताउँछन् ।


कतिपय कार्यक्रममा दोहोरोपना, योजना र कार्यक्रमको मर्म स्थानीय तहले नबुझेको कारणले पनि समस्या आएको उनीहरूको भनाइ छ । पटकपटक प्रस्ताव माग्ने, कार्यक्रमबारे बुझाउने गरे पनि सोचेजस्तो चासो नदेखाइएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रशासन तथा योजना महाशाखा प्रमुख नारायण आचार्य बताउँछन् । उनका अनुसार होमस्टेलाई पुँजीगत अनुदानलगायत केही कार्यक्रममा भने सक्रिय सहभागिता रहे पनि केहीमा वास्तै गरिएको छैन ।


प्रदेशले योजना तर्जुमा हतारमा गरेको, वास्तविक आवश्यकताको पहिचान हुन नसकेको, स्थानीय तहमा कर्मचारी अभाव र फेरबदल भइरहने अवस्थाले पनि योजना र कार्यक्रम उत्साहजनक प्रगति हुन नसकेको हो । प्रदेशले पैसा मात्र दिने कार्यान्वयन भने स्थानीय तहले गर्नुपर्ने भएकाले पनि सोचेजस्तो नभएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा बताउँछन् । ‘स्थानीय तहमा जनशक्ति अभाव, टेन्डर प्रक्रियाको अभ्यास अनुभव नभएको, जग्गा प्राप्तिमा समस्याजस्ता कारणले पहिलो वर्ष समन्वय हुन नसकेर पनि यस्तो समस्या आएको हो,’ उनले भने, ‘कतिपयको कमजोर सोचाइ र बजेटमा एकरूपता पनिभएन ।’


कतिपय योजना टेन्डर प्रक्रियामा गएर निर्माण व्यवसायीमार्फत गर्नुपर्ने तर स्थानीय तहले भने उपभोक्ता समितिमार्फत गर्ने योजनामा बढी ध्यान दिने गरेका छन् । साथै स्थानीय तहमा बढी कामको भार पनि रहेको गृह मन्त्रालयमा सरुवा भएका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलले बताए । ‘लादेर नभई आवश्यकता र समन्वयमा कार्यक्रम र बजेट बनाए साझेदारीका काम कार्यान्वयन हुन्छन्,’ उनले भने ।


गाउँपालिका राष्ट्रिय महासंघ गण्डकीका सहसंयोजक राजु पौडेलले स्थानीय तहसँग प्रदेश सरकारले राम्रो समन्वय नगरेको र कतिपय संरचनागत बाधा व्यवधानले पनि योजना र कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताए । ‘संघीयताको मर्म विपरीत पनि योजना, कार्यक्रम ल्याइएको छ,’ उनले भने, ‘पालिकाको प्राथमिकताका आधारमा बजेट र योजना दिनुपर्नेमा त्यो मिलेको छैन ।’ उनले प्रदेश सरकारले गाउँपालिकाको भन्दा पनि छरपस्ट रुपमा ५/७ लाख रुपैयाँका बजेट पनि ल्याएको बताए । आगामी दिनमा स्थानीय तहको बजेटमै समावेश हुनेगरी कार्यक्रम ल्याउनु पर्नेमा उनले जोड दिए ।

अर्थ वाणिज्य

दरौंदी दोहनमा कडाइ

दबाब र प्रभावमा मेसिन प्रयोगको अनुमति दिएको आरोप लागेका जिल्ला समन्वय समितिका पदाधिकारीहरू नै नदी क्षेत्र पुग्दा आश्चर्यमा
- हरिराम उप्रेती

(गोरखा) - दरौंदी नदी दोहनमा कडाइ गरिएको छ । आफैंले मेसिन प्रयोग गर्न अनुमति दिएको घाटमा मनपरी उत्खनन् हुन थालेपछि जिल्ला समन्वय समितिले अनुगमन थालेको छ । मेसिन प्रयोग गर्ने अनुमतिको निर्णयबाट भने पछि नहट्ने समितिको तयारी छ ।


दबाब र प्रभावमा मेसिन प्रयोगको अनुमति दिएको आरोप लागेका जिसस पदाधिकारीहरूले नै नदी क्षेत्र पुग्दा आश्चर्यमा परेको बताए । स्थानीयको चौतर्फी गुनासोपछि उक्त क्षेत्रमा अनुगमन गर्दा थुप्रै बेथिति भेटिएको जिसस सदस्य मानप्रसाद धितालले बताए । मसानेपाटी क्षेत्रमा न्यूनतम मापदण्ड पनि पूरा नगरी नदी दोहन भएको पाइएको अनुगमन टोलीको
ठहर छ ।


पालुङटार नगरपालिकाले ठेक्का लगाएको मसानेपाटी घाटमा काम रोक्न निर्देशन दिएको धितालले बताए । ‘नगरपालिकालाई कारबाही प्रक्रिया अघि बढाउन पनि भनेका छौं,’ उनले भने । उक्त घाटबाट तोकिएको परिमाणभन्दा बढी निर्माण सामग्री झिकेको पाइएको टोलीले जनाएको छ ।


सचेत कन्स्ट्रक्सन र खोप्लाङ कन्स्ट्रक्सनले उक्त घाटको नदीजन्य पदार्थ संकलनको ठेक्का पाएका छन् । दुवै फर्मले खोला गोरखा नगरपालिकातर्फ फर्काएर नदीजन्य सामग्री झिकेको पाइएको हो । उक्त क्षेत्रमा नदीको सतहभन्दा दुई मिटर गहिरो खनेर मनलाग्दी उत्खनन् भएको पनि अनुगन टोलीले जनाएको छ ।


मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गर्ने सचेत कस्न्ट्रक्सनलाई स्पष्टीकरण सोधिएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताए । ‘प्राविधिक पठाएर नापजाँच गरिसकेका छौं,’ उनले भने, ‘तोकिएको परिमाणभन्दा बढी उत्खनन भएको भन्ने पनि छ ।’ प्राविधिकले पेस गरेको प्रतिवेदनको आधारमा तीन दिनभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोधिएको उनले बताए ।


‘तोकिएको परिमाणभन्दा बढी निकालेको भए जरिवाना तिर्ने भयो,’ उनले भने, ‘खोला फर्काएर र दुई मिटर गहिरो खनेर नदीजन्य पदार्थ निकालेको भन्ने पनि छ । प्राविधिक प्रतिवेदन पनि हेदै र्छौं, उसको जवाफको आधारमा अब कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ आईई प्रतिवेदन बेवास्ता गरेर उत्खनन् भएको पाइए वातवरणीय संरक्षण ऐन नियमावलीअनुसार कारबाही पनि हुन सक्ने उनले बताए ।


जिल्ला समन्वय समितिले मेसिन प्रयोगको अनुमति दिएसँगै दरौंदी नदी क्षेत्रमा ठेकेदारले मनलाग्दी दोहन गरेको स्थानीयको आरोप छ । संरक्षण गर्ने दायित्व पाएका स्थानीय तहका प्रमुख तथा जप्रतिनिधिले नै मेसिन प्रयोगमा जोड दिँदा दरौंदीको स्वरूप बिग्रिएको स्थानीय बुद्घिबहादुर श्रेष्ठले बताए । ‘मेसिन प्रयोगले नै दरौंदीको यो हालत भयो,’ उनले भने, ‘रोक्नुपर्ने दायित्व जनप्रतिनिधि र सरकारी कार्यालयको हो तर उनीहरूलाई यो खोलाकोकुनै चिन्ता छैन ।’ खोला गहिरिँदै जाँदा खेतमा पानी उकाल्न समस्या भएको उनको गुनासो छ ।


यहाँका दुई स्थानीय तहले ठेक्का लगाएका घाटहरूमा नियमन निकायकै संरक्षणमा न्यूनतम मापदण्डसमेत पूरा नगरी नदीजन्य सामग्री उत्खनन बढेको छ । गोरखा नगरपालिका र पालुङटार नगरपालिकाले ठेक्का लगाएका दरौंदी नदीको क्षेत्रमा प्रारम्भिक वातावरणीय परीक्षण (आईई) प्रतिवेदनबेगर मेसिनको प्रयोगबाट उत्खनन भएको छ ।


गोरखा नगरपालिकाले ठेक्का लगाएको बेनीखोला घाटमा पनि आईई प्रतिवेदन लत्याउँदै मेसिनको प्रयोगबाट नदीजन्य सामग्री उत्खनन भइरहेको छ । उक्त घाटको नदीजन्य सामग्री उत्खननको जिम्मा युनिक निर्माण सेवाले पाएको छ । एकै ठाउँमा १० भन्दा बढी मेसिनको प्रयोगबाट निर्माण सामग्री निकाल्ने क्रम तीव्र छ । उक्त घाटमा तोकिएको मापदण्डभन्दा गहिरो खनेर उत्खनन भइरहेको अनुगमन टोलीले जनाएको छ । गोरखा नगरपालिकाले ठेक्का लगाएको नन्दकिशोकर घाटको पनि अनुगमन भएको छ ।


मापदण्ड पूरा नगरी उत्खनन भएको क्षेत्रबारे सम्बन्धित स्थानीय तहलाई जानकारी गराइएको समन्वय समितिका सदस्य धितालले बताए । ‘हामी अनुगमन देखिएका कुरा सम्बन्धित स्थानीय तहलाई भन्छौं, सुझावको आधारमा कारबाही प्रक्रिया अघि बढाएर हामीलाई जानकारी गराउँछन्,’ उनले भने, ‘अनुगमनचाहिँ निरन्तर भइराख्छ ।’


अनुगमनका क्रममा कतिपय निर्माण व्यवसायीले घाटगद्दी नगरेको पाइएका पनि अनुगमन टोलीले जनाएको छ । जनप्रतिनिधिको दबाबमा जिल्ला समन्वय समितिले चैत २५ गतेदेखि वैशाख १५ सम्म मेसिनको प्रयोगबाट उत्खननका लागि अनुमति दिएको थियो । स्थानीय तहले आफैंले बनाएको आईई प्रतिवेदनमा हात र हाते औजारको प्रयोगबाट मात्र नदीजन्य पदार्थ संकलन गर्न मिल्ने उल्लेख छ ।

अर्थ वाणिज्य

‘वैशाखबाट एकद्वार प्रणाली’

- कान्तिपुर संवाददाता

विराटनगर (कास)– अर्थमन्त्री युवराज खतिवडाले औद्योगिक क्षेत्रमा एकद्वार सेवा प्रणाली लागू गर्ने बताएका छन् । अर्थ मन्त्रालयको राजस्व परामर्श समितिले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘आगामी बजेट र राजस्व नीति’ विषयक गोष्ठीमा खतिवडाले साना उद्योगलाई वैशाखभित्र र ठूला परियोजना तथा उद्योगलाई जेठसम्ममा एकद्वार प्रणालीमार्फत सेवा सुरु गर्ने बताएका हुन् ।


साना उद्योगलाई उद्योग मन्त्रालयको उद्योग विभागमार्फत र ठूला उद्योग तथा परियोजनालाई लगानी बोर्डमार्फत एकद्वार सेवा दिने तयारी भइरहेको उल्लेख गर्दै खतिवडाले त्यसका लागि आवश्यक कानुन निर्माण भइरहेको बताए । ‘संघीयताअनुसारको औद्योगिक व्यवसाय ऐन तयारी अवस्थामा रहेको छ । आगामी अधिवेशनपछि कार्यान्वयनमा ल्याइनेछ,’ अर्थमन्त्री खतिवडाले भने । मुलुकलाई औद्योगिकीकरणमा लगेर उद्योग र व्यापारको सन्तुलित विकास गर्ने सरकारको रणनीति रहेको उल्लेख गर्दै खतिवडाले सम्पूर्ण अर्थतन्त्रमा उद्योगको हिस्सा बढाउन केही औद्योगिक उत्पादनलाई संरक्षण दिने तयारी भइरहेको बताए ।


सरकारले उद्योगलाई निःसर्त नभई सर्सत संरक्षण दिने उनको भनाइ थियो । सर्सत संरक्षण पाउन उद्योगीले आन्तरिक प्रतिस्पर्धा गर्नैपर्ने र व्यावसायिक निष्ठा र इमान्दारिता देखाएर उपभोक्तालाई सुलभ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउनुपर्ने खतिवडाको भनाइ थियो ।
जोगबनी–किमाथांका मार्गको ट्र्याक खोल्न बाँकी रहेको स्थानमा सेनामार्फत चाँडै ट्र्याक खुलाएर किमाथांकामा भन्सार विन्दु स्थापना गरेर चीनसँगको व्यापारिक कारोबार सुरु गर्ने तयारीमा सरकार रहेको जानकारी दिए ।


उद्योगी व्यवसायीहरूले संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा कर बढी तिर्नुपरेको, सन्दर्भ सूचीका आधारमा भन्सार असुल्ने कार्यले वस्तुको वास्तविक मूल्यभन्दा बढी भन्सार तिर्नुपरेको गुनासो गरेका थिए । भारतमा वस्तु निर्यात गर्दा पनि अनुदान पाउनुपर्ने उद्योगी व्यवसायीले माग गरेका थिए ।

अर्थ वाणिज्य

सुधारिँदै जुम्ला विमानस्थल

- कान्तिपुर संवाददाता

जुम्ला (कास)– जुम्ला विमानस्थलमा २० दिनका लागि उडान बन्द गरिएको छ । मर्मतसम्भार र स्तरोन्नतिका लागि बन्द गरिएको हो । यसअघि पनि मर्मतका लागि भन्दै झन्डै दुई महिना विमानस्थलमा उडान रोकिएको थियो ।


स्तरोन्नतिको काम बाँकी रहेकाले बिहीबारदेखि विमानस्थल बन्द भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । पहिलोपटक २०७५ कात्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिको काम गरिएको थियो । चिसोले काम प्रभावित भएपछि मर्मत नसकिँदै उडान सुचारु गरिएको थियो । विमानस्थलको बाँकी काम सक्नका लागि २० दिनसम्म उडान रोकिएको विमानस्थल प्रमुख कैलाश शर्माले बताए । स्तरोन्नति छिटो सम्पन्न गर्न बन्द गर्ने निर्णय भएको छ ।

Page 13
समाचार

आयोग पुनर्गठनमा अलमल

संक्रमणकालीन न्याय
- घनश्याम खड्का

(काठमाडौं) - अन्तर्राष्ट्रिय समुदायको दबाब आएपछि संक्रमणकालीन न्यायको संयन्त्रलाई कस्तो बनाउने भन्नेमा सरकारले ‘पर्ख र हेर’ को नीति लिएको छ । राष्ट्रसंघका स्पेसल र्‍यापोर्टर (विशेष दूत) हरूले सत्य निरूपण तथा मेलपिमलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग पुनर्गठन हुन लागेका बेला देखाएको चासो र खबरदारीपछि सरकार आफूअनुकूलका मानिस नियुक्त गर्न पछि हटेको जानकारहरू बताउँछन् ।


‘पाँच जना विशेष दूतले चासो राखेपछि मामिला अन्तर्राष्ट्रिय समुदायका आँखामा एकै पटक परेको छ,’ कानुन मन्त्रालयका एक अधिकारीले भने, ‘यसको प्रभाव अब सरकारले गर्ने काममा देखिन्छ ।’ सरकारले आफूहरूसँग परामर्श नगरी पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुवै आयोगका लागि सिफारिस समिति बनाएपछि पीडितहरूले विरोध गर्दै आएका थिए । उनीहरू आफ्नो सहभागिताबिना हुने संक्रमणकालीन न्यायिक प्रक्रिया मान्य नहुने अडानमा छन् ।


राष्ट्रसंघको मानव अधिकारअन्तर्गत विभिन्न विषयगत समितिका ५ जना विशेषदूतले गत साता संयुक्त पत्र लेख्दै असफलता दोहोरिन नदिन पीडितमैत्री हुन सरकारलाई आग्रह गरेका थिए । ‘यति ठूलो तहबाट आवाज उठिसकेपछि सरकारले कुनै न कुनै तहमा ‘रेस्पोन्स’ गर्ने भएको छ,’ ती अधिकारीले भने, ‘सिफारिस समितिले १० दिनको म्याद थपेको पनि त्यसैका लागि हो ।’ गठन हुनेबित्तिकै समितिले पाँच दिनको समयसीमा तोकेर योग्य उम्मेदवारलाई मेलमिलाप आयोग र बेपत्ता आयोगका पदाधिकारीका लागि दरखास्त हाल्न आहवान गरेको थियो । त्यसलाई पीडितहरूले हतारमा गरिएको अपारदर्शी प्रक्रिया भनी टिप्पणी गरेका थिए । योग्यता नभएका र दलप्रति झुकाव राख्नेहरूलाई आयोगमा लगेर पहिलेझैं समय मात्रै कटाउने रणनीति सरकारको देखिएकाले आफूहरूले विरोध गर्नुपरेको पीडितहरूले बताएका छन् । त्यसै लाइनअनुसार विशेष दूतहरूले पत्र लेखेपछि अन्तर्राष्ट्रियस्तरमै आफ्नो कुराले स्थान पाएको उनीहरूको बुझाइ छ । ‘विशेष दूतहरूको पत्रले हाम्रो माग कति जायज र संवेदनशील छ भन्ने पुष्टि भएको छ,’ द्वन्द्वपीडितको छाता संगठन साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले भने, ‘सरकारले अब देशको छवि नबिगार्ने हो भने हाम्रा मागअनुसार काम गर्नुको विकल्प छैन, हामीले खोजेको पनि त्यही हो ।’


सिफारिस समितिको काम पारदर्शी हुनुपर्ने, ऐन संशोधन हुनुपर्ने र हरेक प्रक्रिया सार्वजनिक छलफल गरी सबैको जानकारीका आधारमा अघि बढ्नुपर्ने पीडितको माग छ । अन्तर्राष्ट्रिय समुदायले पनि त्यसअनुसारै गर्न सरकारलाई आग्रह गरेको हो । गत माघ २६ मा दुवै आयोगको म्याद सकिएपछि सरकारले दुई वर्षका लागि थप गर्ने गरी ऐन संशोधन गरेको थियो । आयुक्तहरूको पदावधि भने चैत मसान्तसम्म मात्रै रहने संशोधित ऐनमा उल्लेख छ । सर्वोच्चले सत्य निरूपण तथा मेलमिलाप ऐन २०७१ को संशोधन अन्तर्राष्ट्रिय मानव अधिकार कानुनका आधारमा गर्न सरकारका नाममा चार वर्षअघि नै परमादेश जारी गरेको छ । त्यसअनुसार हत्या, अपहरण, बलात्कार, यातनालगायत गम्भीर मानव अधिकार उल्लंघनका घटनामा संलग्न दोषीलाई कुनै हालतमा पनि आममाफी दिन नपाइने प्रावधान ऐनमा राख्नुपर्नेछ । सरकारले यसको संशोधन भने हालसम्म गरेको छैन ।


व्यक्ति बेपत्ता पार्ने कामलाई अपराधीकरण गर्ने ऐनसमेत नभएको र यौन हिंसामा परेका पीडितहरूले हदम्याद गुज्रेका आधारमा उजुरीसम्म पनि दिन नपाएको भन्दै पीडितले उठाएको आवाजलाई अन्तर्राष्ट्रिय समुदायले ऐन संशोधनबाट सम्बोधन गर्न सरकारलाई सुझावसमेत दिँदै आएका छन् । विशेष दूतहरूको पत्रमा पनि ऐन तत्काल संशोधन गर्न भनिएको छ । सरकारले भने यसबारे काम अघि बढाएको देखिँदैन । ‘भित्रभित्रै ऐन संशोधन हुँदै छ रे भन्ने सुनेका छौं,’ अधिकारीले भने, ‘आफूखुसी ऐन संशोधन गरे हामीलाई मान्य हुनेछैन ।’ खुला छलफल र परामर्श गरेर पीडितकै सहभागितामा ऐन संशोधन हुनुपर्ने अधिकारीले बताए ।

समाचार

सर्वोच्चमा ५ न्यायाधीश नियुक्त

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाइबाट अनुमोदन झएका ५ जनालाई शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश नियुत्त गरेकी छन् । न्यायपरिषदको सिफारिसपछि संसदीय सुनुवाइबाट अनुमोदन भएका उनीहरूलाई राष्ट्रफतिले संविधानबमोजिम नियुक्त गरेकी हुन् । नियुत्त भएकामा प्रकाशकुमार ढुंगाना, सुस्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा छन् । ढुंगाना र माथेमा उच्च अदालतका मुख्य न्यायाधीश थिए भने रेग्मी, फुँयाल र शर्मा कानुन व्यवसायीमध्येबाट न्यायाधीश सिफारिस भएका थिए ।

समाचार

राजपा नेताको घर खानतलासी

- कान्तिपुर संवाददाता

राजविराज (कास)– सरकारी अधिकारी, जनप्रतिनिधिलगायतको हस्ताक्षर र लेटरप्याड किर्ते गरी उपभोक्ता समिति बनाइएको प्रकरणमा अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले शुक्रबार राजपा नेताका घरसहित विभिन्न ठाउँमा छापा मारेको छ ।


किर्ते उपभोक्ता समिति निर्माणमा संलग्न भएको आरोपमा पक्राउ परेका राजपा केन्द्रीय सदस्यहरू बीपी यादव र हरिनारायण मण्डलको घरमा प्रहरीले खानतलासी गरेको हो । दुवैको घरबाट विभिन्न स्थानीय निकाय र उपभोक्ता समितिका सिफारिस तथा नागरिकताका प्रतिलिपि बरामद भएको प्रहरीले जनाएको छ । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाको वडा २ र ३ जोड्ने सडकमा माटो र ग्राभेल हाल्नका लागि प्रदेश २ सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले छुट्याएको २५ लाख रुपैयाँ बराबरको काम गर्न उपभोक्ता समिति निर्माणदेखि सिफारिससम्ममा किर्ते गरेको भेटिएपछि जिल्ला प्रशासनको आग्रहमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । उक्त प्रकरणमा अन्य केही व्यक्तिसमेत संलग्न रहेको सूचनाका आधारमा प्रहरीले खोजतलास तीव्र बनाएको छ ।

Page 14
समाचार

क्यानाडा पठाउने भन्दै २४ लाख ठगी 

- कान्तिपुर संवाददाता

मोरङ (कास)– वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिने भन्दै यहाँका एक व्यक्तिले २४ लाख रुपैयाँ ठगी गरेका छन् । धनपालथान ३, मायागन्जका राजन राजवंशीले ६ युवासँग ४/४ लाखको दरले २४ लाख ठगेका हुन् । ठगीमा परेका युवाले श्रम तथा रोजगार कार्यालय विराटनगरमा बिहीबार उजुरी दिएका छन् ।


सुनवर्षी नगरपालिका ३ का राजुश राजवंशी, पुष्पकुमार राजवंशी, श्रवण राजवंशी, वडा ९ का लक्ष्मण सहनी, दयानन्द सहनी र कटहरी गाउँपालिका २ का अशोककुमार राजवंशी ठगीमा परेका हुन् । उनीहरूमध्ये अधिकांशले स्थानीय साहुलाई जग्गा रजिस्ट्रेसन गरेर सयकडा ४ रुपैयाँको दरमा ऋण लिई रकम बुझाएको बताए ।


पीडित पुष्पकुमारले फ्रुट प्याकिङको काममा मासिक २ लाख तलबमा क्यानाडा पठाइदिने भन्दै राजनले सुरुमा डेढ लाख रुपैयाँ लिएको बताए । ‘सुरुमा सहारा नेपालबाट १ लाख र फर्वार्ड लघु वित्तबाट ५० हजार गरी डेढ लाख लिएर दिएँ,’ उनले भने, ‘फर्जी भिसा देखाएर बाँकी अढाई लाख मागेपछि गाउँकै साहुलाई जग्गा रजिस्ट्रेसन गरी सयकडा ४ रुपैयाँको दरमा ऋण लिएर बुझाएँ ।’


आफूहरू ६ जनालाई नक्कली भिसा र टिकट दिएर भारतको दिल्ली लगी २ हप्तापछि फर्काइदिएको पुष्पले बताए । ‘दिल्लीमा टिकट ओके नभएको भन्दै फर्काइदियो,’ उनले भने, ‘त्यसपछि आजभोलि भन्दै केही दिनदेखि सम्पर्कविहीन भएकाले श्रम कार्यालयमा उजुरी गरेको छु ।’
अर्का पीडित अशोकले आफू सुकुम्बासी भएकाले जेठी सासूआमाको जग्गा रजिस्ट्रेसन गराएर साहुसँग सयकडा ४ रुपैयाँ ब्याजमा ऋण लिई राजनलाई बुझाएको सुनाए । ‘दिनभरि ज्याला मजदुरी गरेर छाक टार्ने गरेको अवस्थामा ऋण कसरी तिर्ने ?’ उनले भने, ‘क्यानाडामा धेरै पैसा कमाएर परिवारलाई सुखसँग पाल्ने सपना देखाएर राजनले मर्नु न बाँच्नुको बनाइदिएको छ ।’


श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले वैदेशिक रोजगारीमा क्यानाडा पठाइदिने नाममा ठगी भएको ४ वटा उजुरी आएको बताए । राजन राजवंशी, विनोद ठाकुरलगायत ५ जनाले सुनसरीको झुम्काका योगनारायण चौधरीलगायत ६ जनाबाट ३७ लाख रुपैयाँ ठगी गरेकोमध्ये विनोदबाट ७ लाख ६७ हजार रुपैयाँ भुक्तानी गराएको उनले जानकारी दिए ।


सञ्जेलका अनुसार क्यानाडा पठाइदिने भन्दै ठगीे घटनाको मुख्य योजनाकार झापाको गौरादह ४ का दीपेन्द्र झा, गणेशप्रसाद गिरी र नेपालगन्ज घर भई हाल दिल्लीमा बस्दै आएका निरञ्जन पुरी रहेको अहिलेसम्मको घटनाहरूले देखाएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरीमा पत्राचार गरिसकिएको सञ्जेलले बताए ।

समाचार

कर्मचारीले रोजेनन् कर्णाली

- अब्दुल्लाह मियाँ

(काठमाडौं) - सामान्य प्रशासन सेवाका २३ उपसचिवको दरबन्दी रहेको कर्णाली प्रदेशमा समायोजनपछि एक जना मात्र पदस्थापन भएका छन् । समायोजन फाराम भर्ने क्रममा कर्णाली प्रदेश प्रशासन सेवाका उपसचिवको रोजाइमा नपरेपछि मुख्यमन्त्री कार्यालय तथा अधिकांश मन्त्रालयका महाशाखा प्रमुख पद रिक्त छन् । प्रदेशका मन्त्रालयमा महाशाखा प्रमुखमा उपसचिव रहने व्यवस्था छ । सबैजसो कार्यालयमा नायब सुब्बा र खरिदार तहका कर्मचारी मात्रै समायोजन भएका छन् । प्रशासन सेवाका मात्र होइन, प्राविधिक उपसचिवले पनि कर्णाली प्रदेश रोजेनन् । जनरल फरेस्ट्रीका १४ उपसचिवको दरबन्दी रहेकामा समायोजनमा बाराका भक्तबहादुर लामा र मकवानपुरका थिरबहादुर कार्कीले मात्र कर्णाली प्रदेश रोजेपछि अधिकृत स्तरबाट काम चलाउनुपर्ने अवस्था सिर्जना भएको छ । अन्य प्रदेशमा भने जनरल फरेस्ट्री सेवाका उपसचिव खचाखच छन् । कर्णालीमा भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पाँच जना सिनियर डिभिजनल इन्जिनियर (सीडीई) हुनुपर्नेमा एक जना पनि समायोजन भएका छैनन् । पहिला भएका सीडीई र अन्य कर्मचारी अन्यत्रै समायोजन भइसकेका छन्, जसले गर्दा नियमित काममै अवरोध सिर्जना भएको छ ।


स्वास्थ्यसेवाका कर्मचारीको पनि उस्तै हालत छ । समायोजन क्रममा बाहिरका एक जना डाक्टरले मात्रै कर्णाली प्रदेश रोजेका थिए । अहिलेसम्म कर्णालीमा खटिने स्वास्थ्यसेवाका कर्मचारीको टुंगो लागेको छैन । कृषि, इन्जिनियरिङ, पशु, भूमिलगायत अधिकांश कार्यालयमा दरबन्दीअनुसार उपसचिव छैनन् । कर्णालीका सुर्खेत, सल्यान, दैलेख, पश्चिम रुकुम, जाजरकोट, कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पाका लागि पछिल्लो पटक १ हजार ९ सय ९२ कर्मचारीको दरबन्दी सिर्जना गरिएको छ । यो स्वास्थ्यसेवाबाहेकको संख्या हो ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा प्रमुख सहसचिव केदार पनेरुले कर्णाली प्रदेशमा १ हजार ३ सय ३४ जना कर्मचारी समायोजन भएको दाबी गरे । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मुस्किलले १ हजार १ सय कर्मचारी मात्र समायोजन भएको पत्र त्यहाँ पुगेको छ । समायोजनपछि पदस्थापन भएका कतिपय कर्मचारी त्यहाँ नजानका लागि शक्तिकेन्द्र धाइरहेका छन् । कतिपयले अन्य बहानाबाजी गरिरहेका छन् । प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलिया समायोजनअघि ४० प्रतिशत पदपूर्ति भएकामा अहिले झन् घटेको बताउँछन् । ‘विगतमा काम गरिरहेका कर्मचारीले अन्य प्रदेश रोजेर गएपछि समस्या भएको छ,’ थपलियाले कान्तिपुरसँग भने, ‘नीति कार्यक्रमअनुसार परिणाम दिनका लागि कर्मचारी मुख्य चुनौतीका रूपमा देखा परेका छन् ।’ पनेरुले सबै सेवाका कर्मचारीको समायोजन पूरा भएको दाबी गरे पनि नासु र खरिदार तहका कर्मचारी मात्रै दरबन्दीअनुसार पदपूर्ति भएको उनले बताए । ‘मन्त्रालयहरूमा विभागीय प्रमुख रिक्त छन्,’ उनले भने, ‘चालु आवमा भइरहेका काममै अवरोध भएको छ ।’


सबैजसो मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा दरबन्दीअनुसार कर्मचारी अपुग भएपछि मुख्यमन्त्री कार्यालयले सबैसँग विवरण मागेको छ । ‘सबै मन्त्रालयबाट अपुग कर्मचारीको विवरण आएपछि के कसरी व्यवस्थापन गर्ने भनेर छलफल अघि बढाउन सकिएला,’ उनी भन्छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारी प्रदेशमा सिर्जना गरिएको दरबन्दीअनुसार समायोजन गर्न नसकिएको स्विकार्छन् ।


‘प्रदेशहरूमा दरबन्दीअनुसार कर्मचारी समायोजन हुन नसक्नु पहिलो समस्या हो,’ अधिकारी भन्छन्, ‘समायोजनपत्र ढिलो बुझ्ने कर्मचारी बाटामै रहेको र कतिपयले सच्याउन माग गरेका कारण प्रदेश जाने कर्मचारी कम हुन गएको होला ।’


प्रदेश लोकसेवा विधेयक पारित
कर्णालीको प्रदेशसभाले प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ तर त्यतिले मात्र कर्मचारी भर्ना गर्न प्रदेशलाई बाटो खुल्दैन । त्यसका लागि प्रदेश निजामती सेवा ऐनको मापदण्ड संघीय संसद्ले पारित गर्नुपर्ने हुन्छ । अहिलेसम्म त्यो मस्यौदाकै चरणमा छ । निजामती कर्मचारीको मापदण्ड तय भएपछि मात्र त्यसअनुसार आरक्षण तोकेर प्रदेश निजामती सेवा ऐनअनुसार कर्मचारी भर्ना गर्न बाटो खुल्छ ।

समाचार

‘प्रदेशप्रति केन्द्र सरकार अनुदार’

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले प्रदेशलाई अधिकार दिने विषयमा संघीय सरकार अनुदार भएको बताएका छन् । संविधानविपरीत काम गर्‍यो भने प्रदेशसभा र सरकार विघटन गर्ने अधिकारसमेत संघीय सरकारलाई रहेको भन्दै उनले आफ्ना सन्तानलाई कमजोर बनाउन खोज्नुको कारण नबुझेको बताए ।


‘संविधानले तीनै तहका सभा एवं सरकारलाई समानुपातिक र समावेशी बनाएको छ,’ जमकट्टेलले कान्तिपुरसँग भने, ‘तर संविधानले तोकेको अधिकार प्रदेशलाई दिन किन हिचकिचाएको हो, बुझ्न सकिएको छैन ।’ उनले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रदेशमातहत हुनुपर्ने दोहोर्‍याए । प्रजिअ र प्रहरी प्रमुखसमेत प्रदेशमातहत नरहने हो भने शान्तिसुरक्षा, विकास–निर्माणलगायत क्षेत्रमा काम गर्न कठिनाइ उत्पन्न हुने उनको तर्क छ ।


प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हालै संघसंस्था दर्ता ऐन, विपद् व्यवस्थापन र सञ्चार विधेयक पारित गरेको छ । यी तीनवटै विधेयकमा प्रमुख जिल्ला अधिकारी जोडिएका छन् । तीनवटै विधेयक संघीय सरकारले पनि निर्माण गरेको छ । प्रजिअहरू संघीय सरकारको विधेयकअनुसार काम गरिरहेका छन् । संविधानमा प्रदेश प्रहरीको व्यवस्था भए पनि संघीय सरकारले प्रहरी ऐन नबनाएका कारण शान्तिसुरक्षाको काम गर्न समस्या भएको उनको बुझाइ छ । ‘संघीयता कार्यान्वयन गर्न संघर्ष नै गर्नुपर्ने अनुभूति हुन थालेको छ,’ उनले भने ।


हेटौंडामा बुधबार सकिएको सुरक्षा गोष्ठीमा उनले प्रदेश सरकारले बनाएको कानुन प्रमुख जिल्ला अधिकारीले पालना गर्नुपर्ने बताएका थिए । प्रमुख जिल्ला अधिकारीले घुमाउरो भाषामा प्रदेश सरकारले बनाएको कानुन नमान्ने संकेत गरेपछि उनले मान्नैपर्ने जिकिर गरेका थिए । सुरक्षा गोष्ठीमा गृहसचिव प्रेमकुमार राई र मन्त्री जमकट्टेलबीच प्रदेशका अधिकारका विषयमा दोहोरी चलेको थियो । संविधानले दिएको अधिकार संघीय सरकारले कटौती गरेमा अदालतको ढोका ढकढक्याउने चेतावनी उनले दिएका थिए । गृहसचिव राईले भने प्रदेश सरकारले बनाएको कानुन आफूहरूलाई थाहै नभएको बताएका थिए ।


जमकट्टेलले यो पाराले संघीयता कार्यान्वयन हुन नसक्ने बताए । ‘संघीय सरकारले सिंहदरबारमा बसेर यो अधिकार दिन्छौं, यो दिन्नौं भन्ने होइन, हामीले संविधानअनुसार अधिकार खोजेका हौं,’ उनले भने, ‘अधिकार लिने र दिने विषय होइन, संविधानमा उल्लेख भएका कुरा कार्यान्वयनमा आउनुपर्‍यो ।’ प्रदेश र स्थानीय सरकार सक्षम र बलियो भएनन् भने समृद्ध मुलुक र सुखी नागरिकको नारा कागजमा सीमित हुने उनले बताए ।

समाचार

थपलिया फ्रमुख आयुक्त नियुत्त

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पूर्वसचिव दिनेश थपलियालाई निर्वाचन आयोगको फ्रमुख आयुक्त नियुत्त गरेकी छन् । संवैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनुवाइबाट अनुमोदन भएका थपलियालाई राष्ट्रपति भण्डारीले संविधानको धारा २४५ को उपधारा २ बमोजिम फ्रमुख आयुक्त नियुत्त गरेकी हुन् । थपलिया प्रमुख आयुक्त सिफारिस हुनुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थिए ।

Page 15
विदेश

कन्हैयालाई पछ्याउँदा

- सुरेशराज न्यौपाने
चुनावमा प्रचारमा निस्केका जेनएयूका पूर्वविद्यार्थी नेता कन्हैया कुमार । उनले बिहारको औद्योगिक नगरी बेगुसरायबाट उम्मेदवार दिएका छन् (माथि) । उनको समर्थनमा लेखिएको नारा ।

(नयाँदिल्ली) - विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारत यतिबेला चुनावमय छ । यसबाट अछुतो छैन बिहारको औद्योगिक नगरी अर्थात् बेगुसराय पनि । तर, चौथो चरणअन्तर्गत २९ अप्रिलमा हुने यहाँको चुनावप्रति भने भारतमा मात्र होइन विदेशमा समेत विशेष चासो राखिएको छ । त्यही चासोका कारण देशी र विदेशी सञ्चारकमीरु चुनावी रिपोर्टिङका लागि त्यहाँ पुग्ने क्रम बढदो छ । र, बाहिरबाट आउने मिडिया टोलीलार्ई सहयोग गर्न स्थानीय सञ्चारकर्मीलार्ई भ्याइनभ्याइ छ । बेगुसरायलार्ई यसपटक चर्चामा ल्याएको हो नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय (जेनएयू) का पूर्व विद्यार्थी विद्यार्थी नेता कन्हैया कुमारको उम्मेदवारीले । उनले भारतीय कम्युनिस्ट पार्टी सीपीआईका उम्मेदवार दिएका छन् ।


परिवारका माहिला छोरा कन्हैयाको स्कुलदेखि नै राजनीतिमा चासो भए पनि पूर्णकालीन राजनीतिमा लाग्ने सोच भने थिएन । भाइ प्रिन्सका अनुसार कन्हैया इन्जिनियर बन्न चाहन्थे । तर, परिवारको आर्थिक अवस्था कमजोर भएका कारण कन्हैया सुरक्षित सरकारी जागिर खान चाहन्थे । सरकारी जागिरमा पनि सेनामा जागिर खान अलि सजिलो थियो । त्यसैले उनले एक पटक जलसेनाका लागि आवेदनसमेत दिए । सेनामा जागिर खानकै लागि उनले आईएस्सी पढेको भाइ प्रिन्सले सुनाए । तर, त्यसमा नभएपछि उनी पढाइ निरन्तरता दिँदै गए । छात्रवृत्ति पाए पछि उनी जेएनयूमा पीएचडी पढ्न थाले । तार्किक भाषण शैलीले उनी त्यहाँको विद्यार्थी युनियनको सभापति चुनिए । तर, सन् २०१६ को जेएनयू घटनाले कन्हैयाको जीवनलार्ई पूर्णरुपमा राजनीतिक मोड दियो ।


९ फेब्रुअरी २०१६ मा जेएनयूमा विद्यार्थीहरू एक समूहले संसद हमलामा दोषी अफ्जल गुरु र कश्मीरी पृथकतावादी मक्बुल भाटलार्ई फाँसी दिएको विरोधमा कार्यक्रम राखेको थियो । भारतीय जनतापार्टी निकट अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले ऊक्त कार्यत्रम भारतविरोधी नारा लागेको भन्दै आयोजकहरूलार्ई कारबाही गर्नुपर्ने माग राख्यो । र, त्यही कारण देखाएर जेनएयू प्रशासनले कन्हैया लगायतका केही विद्यार्थीहरूलाई कारबाही गर्‍यो । त्यही घटनालार्ई आधार बनाएर स्थानीय प्रहरीले राजद्रोहको मुद्दा लगाएर पक्राउ गरेको थियो । दिल्ली उच्च अदालतको आदेशपछि उनी जमानतबाट जुटेका थिए । जेलबाट बाहिरिए लगत्तै जेएनयूमा कन्हैयाले दिएको ‘भारतबाट आजादी होइन, भारतभित्रै आजादी चाहियो’ भाषणले उनलार्ई थप चर्चामा पुर्‍यायो । यिनै विद्यार्थी नेता कन्हैयाको उम्मेदवारीले बेगुसराय पुनः एकपटक चर्चाको केन्द्रमा छ । त्यसो त नब्बेको दशकसम्म पनि भारतीय राजनीतिमा बेगुसराय सबैका लागि चासो र चर्चाको विषय बन्ने गर्थ्यो । कम्युनिस्टहरूले पनि यहाँको राजनीतिलार्ई आफ्नो प्रतिष्ठाको विषय बनाउने गर्थे । तर, पछिल्ला दुई दशकयता कार्यकर्ता पलायनका संगठन कमजोर हुँदै जानु र अन्य राजनीतिक दलहरूले प्रभाव विस्तार गर्दै पछि बेगुसरायमा कम्युनिस्टहरूको प्रभाव पनि फितलो हुँदै गयो । र, राष्ट्रिय राजनीतिको परिदृश्यबाट समेत विस्तारै ओझेल पर्न थाल्यो । तर, कन्हैयाको उम्मेदवारीले सीपीआईका कार्यकता मात्र नभएर नेतृत्वसम्मकै आशाको सञ्चार गराएको छ । सीपीआईका सचिव नारायणले कन्हैयाको उम्मेदवारी सीपीआईको मात्र नभएर सबै समग्र कम्युनिस्ट आन्दोलनको पुनर्जीवन दिएको बताए ।


कन्हैयाको प्रचारशैली पनि अन्य उम्मेदवारभन्दा भिन्न छ । गएको बुधबार कन्हैयाको चुनावी प्रचारको गन्तव्य थियो बेगुसरायको मुख्य बजारबाट करिब ४० किलोमिटर परको विक्रमपुर गाउँ । गाउँकै एक जना सीपीआईका पुराना कार्यकर्ताको घरमा भेला राखिएको थियो । पालैपालो स्थानीय कार्यकर्ताहरू यी युवा उम्मेदवारलार्ई भेट्दै आआफ्नो समस्या र सुझाव दिइरहेका थिए । कन्हैयालार्ई भेट्ने सीपीआईका पुराना कार्यकर्ताहरूमा एउटा बेग्लै खुसी देखिन्थ्यो । मानौं हराएको देउता अचानक भेटिएजस्तै । लठ्ठी टेक्दै आएका एक जना बृद्धले कन्हैयाको टाउमा हात राखेर पनि जित्नु भन्दै आर्शिवाद दिइरहँदा वातावरण एकाएका भावुक बनेको थियो ।


त्यही उनले स्थानीयहरूसँगै बसेर दही च्युरा खाजा खाए । त्यसपछि उनले होण्डा कारको माथि उभिएर करिब दस मिनेट सम्बोधन गरे । सम्बोधनका क्रममा उनले राज्यले गलत नियत राखेर आफूमाथि देशद्रोहको मुद्दा लगाएको र त्यसले बेगुसरायको माटो तथा जनताको अपमान गरेको दाबी गरे । ‘यो अपमानको बदला बेगुसरायको जनताले कसरी लिन्छन् भनेर देश र विदेशका मिडियाले चासो राखेका छन्,’ उनले भने । भाषणका क्रममा उनी सँधैझैं मोदी सरकारप्रति व्यंग्य गर्न चुकेनन् । देशद्रोही भएको भए आयोगले मलार्ई किन चुनावमा भाग लिन दियो भनेर मोदी सरकारप्रति कटाक्ष गरे । ‘म देशद्रोही हो भने त मलार्ई चुनाव लड्न छुट दिने आयोग, स्थानीय प्रशासन र मुलुकको पुरै कानुनव्यवस्था देशद्रोही हो,’ कुमारले आक्रोशित हुँदै भने । उनले सम्बोधन गरिरहँदा कन्हैया कुमार जिन्दावाद जिन्दावादको नारा लागिरहृयो । उनले आफ्नो उम्मेदवारी अधिनायवादी शासनको विरुद्ध र भारतीय जनताको आजादीका लागि भएको दाबी गरे । उनले भने, ‘अन्य पार्टी बेगुसरायको जित भनेको एउटा सिट जित्नु मात्र हो तर, मेरा लागि भने पूरै बेगसरायको जनताको जित हो । उनीहरूको आवाजको जितको कुरा हो ।’ गरिब र निमुखा जनताको आवाज दबाउन चाहन्छ अहिलेको सत्ता त्यसैले मप्रति जनताको सहानुभूतिसमेत रहेको उनले दाबी गरे ।


प्रचारप्रसार औपचारिक रूपमा डेढ महिनाअघि चुनाव घोषणापछि भए पनि आफूहरूले बेगुसराय जिल्लामा अढाइ वर्षदेखि २३० वटा पञ्चायतमा जनसंवाद कार्यक्रम चलाउँदै आएको कन्हैयाका भाइ प्रिन्सले बताए । त्यो पनि कालान्तरमा चुनावी अभियानमा परिणत भयो । उक्त अभियानले कन्हैयालार्ई स्थानीय मतदाताहरूसामु चिनाउन सघायो । पहिले गएका पन्चायतहरूमा चुनाव घोषणापछि पुनः एकपटक मतदातासमक्ष पुग्ने कार्यक्रम तय गरिएको छ । र, २४ अप्रिलसम्म त्यो सम्पन्न गर्ने योजना छ । बेगुसरायमा कन्हैयाको चुनावी अभियानले पनि विशेष चर्चा बटुलेको छ । चुनावी अभियानका केही विशेष फर्मुला तय गरिएको छ । अभियानलार्ई कमजोर क्षेत्रबाट सुरु गरेर बलियो क्षेत्रमा लैजाने । कन्हैयासँग हिँड्ने टोलीबाहेक अन्य विभिन्न सासाना समूहहरू पनि घरदैलोमा व्यस्त छन् । त्यसैगरी महिलाहरूको छुट्टै समूह छ । कन्हैयाको चुनावी प्रचारका लागि गुजरातका विद्यार्थी नेता जिग्नेस पनि एक महिनादेखि बेगुसरायमै डेराडण्डा जमाएर बसेका छन् । उनले
विशेषगरी दलित लगायतका पिछडिएका जातिको भोट तान्न विशेष अभियान नै चलाएका छन् ।


त्यसैगरी बाहिरबाट आएका कन्हैयाका जेएनयूका साथी र अन्य शुभचिन्तकहरू ससानो समूह बनाएर घरघरमा पर्चा बाँड्ने काम गरिरहेका छन् । सीपीआईका २० जना कार्यकर्ता र पाँच जना बाहिरबाट आउका स्वयंसेवकसहितको टोलीले घरघरमा गएर मतदातासँग अन्तरक्रिया गरेको छ । जसदौरान अप्रत्यक्ष रूपमा उनीहरूको राजनीतिक पृष्ठभूमि, गुनासा र असन्तुष्टिहरू बुझ्ने गरेको छ । त्यसरी प्राप्त जानकारीलार्ई प्रत्येक दिन साँझ समीक्षा गरिएको छ । र, त्यसको जानकारी कन्हैया र उनको कोर टिमलार्ई जानकारी दिइन्छ । कन्हैयाको चुनावी अभियानको संयोजनका लागि सीपीआईले केन्द्रबाट नेताहरू खटाएको छ । त्यसको संयोजन पार्टीका सचिव के नारायणले । उनी एक महिनादेखि बेगुसरायमै बसेर कन्हैयाको चुनावी अभियानको संयोजन गरिरहेका छन् ।


बिहार जातीय राजनीतिको ऊर्वर भूमि मानिन्छ । विगतदेखि नै आर्थिक र विकासका मुद्दाभन्दा पनि भूमिहार, यादव, दलित, मुस्लिमबीचको समीकरणले नै चुनावी परिणाम तय गर्दै आएका छन् । यसपटक बेगुसरायका मतदाता जातीय राजनीतिबाट माथि उठ्न सक्छन् सक्दिैनन् त्यसले नै कन्हैयाको सुरु गरेको राजनीतिक यात्राको भविष्य तय गर्नेछ ।

विदेश

ट्रम्पले पठाए किमलाई सन्देश

- कान्तिपुर संवाददाता

सिओल, दक्षिण कोरिया (सिन्ह्वा)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनलाई कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निःशस्त्रीकरण गराउने विषयमा संवादका लागि सन्देश पठाएका छन् । दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनमार्फत पठाइएको सन्देश किमसम्म पुर्‍याउन ट्रम्पले आग्रह गरेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् । ट्रम्पको सन्देश किमलाई पठाइएको र अब अमेरिका र उत्तर कोरियाबीचको संवादले निरन्तरता पाउन सक्ने सम्भावना बढेको ती अधिकारीको भनाइ छ ।


ट्रम्प र किमबीच भियतनामको राजधानी हनोइमा भएको दोस्रो शिखर सम्मेलनलगत्तै मुन–ट्रम्पबीच वासिङ्टनमा भेटवार्ता भएको थियो । ट्रम्पले उत्तर कोरियाबारे पठाएको सन्देशबारे दक्षिण कोरियाली राष्ट्रपतिबाट कुनै जानकारी सार्वजनिक भएको छैन । वासिङ्टनमा भएको मुन–ट्रम्प सम्मेलनले कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्न विस्तृत धारणा ल्याएको र यसमा सिओल र वासिङ्टनको एकमत छ । उत्तर कोरियाको सुप्रिम पिपुल्स एसेम्ब्लीमा बोल्दै किमले समस्या समाधानका लागि आफू थप अर्को वार्ताका लागि तयार रहेको बताए ।उत्तर कोरियाले बुधबार छोटो दुरीको हतियार परीक्षण गरेको थियो ।

पुटिन–किम भेट हुँदै

यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र किमबीच भेटवार्ता हुँदै छ । भेटमा द्विपक्षीय सम्बन्ध विस्तार, क्षेत्रीय सहकार्य र कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गराउने विषयमा केन्द्रित रहने रूसी फ्रशासनिक केन्द्र क्रेमलिनले शुत्रबार जनाएको छ ।क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारकर्मीसँग भने, ‘छलफलका विषयहरू धेरै बृहत् छन् । दुई छिमेकी मुलुकका प्रमुखबीच जोडिएका बृहत् सीमाका विषयमा छलफल हुनेछ ।’


‘रूसले कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरणका लागि आफ्नो पूर्ण क्षमताको प्रयोग गर्नेछ,’ उनले भने । नेता किमले अप्रिल अन्त्यसम्ममा रूस भ्रमण गर्नेबारे क्रेमलिनले बिहीबार जानकारी गराएको थियो । यो पुटिन र किमबीचको पहिलो औपचारिक भेटघाट हुनेछ ।

विदेश

'प्रअको आदेशमा छात्राको हत्या'

- एएफपी
१९ वर्षीया बंगलादेशी छात्रा नसरत जहाँको हत्याविरुद्ध उनको प्लेकार्ड बोकेर राजधानी ढाकामा प्रदर्शन गर्दै महिला । तस्बिर ः एएफपी

ढाका, बंगलादेश  – बंगलादेशमा गत हप्ता हत्या गरिएकी छात्रा नसरत जहाँ रफीलाई उनकै प्रधानाध्यापकले आगो लगाउन आदेश दिएको प्रहरीले शुक्रबार जनाएको छ । १९ वर्षीया रफीमाथि यौनदुर्व्यवहार गरेको भन्दै प्रहरीमा मुद्दा दर्ता गरेपछि उनलाई मुद्दा फिर्ता गर्न भनिएको तर किशोरीले मुद्दा फिर्ता गर्न नमानेपछि आरोपित प्रधानाध्यापकले मट्टितेलमा छर्केर आगो लगाउन आदेश दिएको खुल्न आएको प्रहरीले बताएको छ । बंगलादेशभर नसरतको हत्याविरुद्ध आन्दोलन भएपछि प्रधानमन्त्रीले घटनामा संलग्न जोकोहीलाई कानुनी कठघरामा उभ्याइने बताएकी छन् ।


‘रफीलाई उनी सहभागी एक कार्यक्रम स्थलबाट सोही घरको छतमा लगी प्रहरीमा दायर भएको यौन दुर्व्यवहारसम्बन्धी मुद्दालाई फिर्ता लिन दबाब दिएको तर मुद्दा फिर्ता लिन नमानेपछि मट्टितेलमा चोबेर आगो लगाउन आदेश दिएको आरोपमा पक्राउ परेका १७ जनामध्ये एक आरोपितले बयान दिएका छन्,’ अनुसन्धानमा संलग्न वरिष्ठ प्रहरी उपरीक्षक मोहम्मद इकबालले बताए । रफीले मार्चको अन्त्यतिर आफूमाथि यौनदुर्व्यवहार भएको भनी मुद्दा दर्ता गर्न पुगेको तर प्रहरीको स्थानीय कार्यालयका प्रमुखले घटनालाई सामान्य भन्दै मुद्दा दर्ता गर्न नमानेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि यसले देशव्यापी रूपमा चर्चा पाएको थियो । बयानमा पक्राउ परेका आरोपितमध्ये पाँच जनाले रफीलाई एउटा पछ्यौरा (स्कार्फ) ले बाँधी आगो लगाएका थिए । उक्त घटनामा तीन जना रफीकै सहपाठीसमेत रहेका खुल्न आएको छ ।


किशोरीले आत्महत्या गरेको पुष्टि गर्ने योजना उक्त समूहको रहेको भए पनि आगोले जलेर पछ्यौराले बाँधिएका हातखुट्टा खुलेपछि रफी आगो सल्किएकै अवस्थामा भवनको तल्लो तलामा झर्न सफल भएको भेटिएको प्रहरी उपरीक्षक इकबालले बताए । करिब ८० प्रतिशत शरीरमा आगोले जलेकी रफीको उपचारका क्रममा अप्रिल १० मा निधन भएको थियो ।रफीको मृत्युपूर्व उनले भिडियो रेकर्ड गरी आफ्ना प्रधानाध्यापकलाई दोषारोपण गरेकी थिइन् । उनले भिडियोमा भनेकी थिइन्, ‘प्रधानाध्यापकले मलाई गरेको यौन आक्रमणको अन्तिम श्वाससम्म मुकाविला गर्नेछु,’ उनले घटनामा संलग्न अन्य केहीको पनि परिचय दिएकी थिइन् ।

विदेश

पाकिस्तानी मन्त्रिपरिषद् फेरबदल

इस्लामाबाद (एएनआई) – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार पहिलोपटक मन्त्रिपरिषद्मा व्यापक फेरबदल गरेका छन् । प्रधानमन्त्री भएपछि गठित मन्त्रिपरिषद्मा प्रधानमन्त्री खानले पाँच जनालाई मन्त्रिमण्डलमा समावेश गर्नुका साथै चार मन्त्रीको कार्यभार हेरफेर गरेका छन् । पाकिस्तानी सञ्चारमन्त्री फवाद चौधरीलाई विज्ञान तथा प्रविधिमन्त्री बनाइएको छ । चौधरीको स्थानमा २०१७ मा पाकिस्तान पिपुल्स पार्टी परित्याग गरी इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफमा प्रवेश गरेका फिर्दोस आशिक अवानलाई ल्याइएको छ ।
२०१० देखि २०१३ सम्म पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट अर्थमन्त्री डा अब्दुल हाफिज शेखलाई अर्थमन्क्रीको समकक्षको अर्थ सल्लाहकारमा नियुत्त गरिएको छ । यसअघिका अर्थ सल्लाहकार असद उमरले प्रधानमन्त्री खानको प्रस्तावप्रति विमति जनाउँदै राजीनामा गरेका थिए ।
यसैगरी, पूर्वराष्ट्रपति जनरल पर्वेज मुसरफका निकटवर्ती ब्रिगेडियर इजाज अहमद शाहलाई गृहमन्त्री बनाइएको छ । यसअघि उक्त मन्त्रालय प्रधानमन्त्री खानकै मातहतमा राखिएको थियो । गृहराज्य मन्त्री सेहरयार अफ्रिदीलाई प्रदेश तथा फ्रन्टियर मामिलासम्बन्धी राज्यमन्त्री बनाइएको छ । पेट्रोलियम मन्त्री गुलाम सरवार खानलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । खानले आफूलाई मन्त्रीबाट हटाइए पार्टी परित्याग गर्ने चेतावनी दिएका थिए ।


पछिल्ला केही वर्षदेखि गम्भीर
आर्थिक संकट झेल्दै आएको पाकिस्तानले बेइजिङ र रियादबाट १० अर्ब डलर प्राप्त गरे पनि अपेक्षित आर्थिक स्थायित्व
आउन सकेको छैन । पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ८ देखि १० अर्ब डलरको आर्थिक सहायताका लागि प्रयत्न गरिरहेको छ ।

Page 16
शैली

सहरमा पुस्तक राख्ने ठाउँ छैन

जीवनभर भाषा–साहित्यको अन्वेषण र खोजमा लागेका सर्जकले संकलन गरेका पुस्तकले उनीहरुको निधनपछि उचित संरक्षण पाउन सकेका छैनन्, परिवारका सदस्य पुस्तकको उचित संरक्षण गरिदिने पुस्तकालयको खोजीमा छन् ।
- देवेन्द्र भट्टराई
अन्वेषक शरदचन्द्र भट्टराईकी श्रीमती कमला श्रीमान्को पुस्तक–कक्षमा ।तस्बिर ः हेमन्त श्रेष्ठ/कान्तिपुर

(काठमाडौं) - भाषा–साहित्यका अध्येता शरदचन्द्र शर्मा भट्टराईले यो संसार छाडेको १७ वर्ष भइसक्यो । रातोपुलभित्रको परम्परागत पुरानो घरमा शरदचन्द्रको स्मृति झल्कने सयौं पुस्तक, पत्रिका र तस्बिरलाई जतनसँग पुछपाछ गर्दै बसेकी छन्, ७९ वर्षीया श्रीमती कमला । स्वर्गीय श्रीमान्को स्मृतिमा हरेक दिन उनी धूपबत्ती बाल्छिन्, श्रीमान्ले पढ्ने भाषिक इतिहासका पुस्तक छामछुम गर्छिन् र श्रीमान् बस्ने गरेकै आसनमा बसेर ध्यानमग्न हुन्छिन् । ‘मैले थाहा पाएदेखि मलाईजत्तिकै यी पुस्तकलाई पनि श्रीमान्ले माया गर्नुभयो,’ कमला भन्छिन्, ‘गाँस काटेर जोडिएका यी पुस्तक–पत्रिका कम्तीमा म रहुन्जेल अरूलाई दिन्नँ ।’


२०५० सालमा ‘माध्यमिक नेपाली गद्याख्यान’ शोधकृतिका लागि मदन पुरस्कार पाएका शरदचन्द्र नेपाली भाषा–साहित्यका पुस्तक संकलक र शोधकर्ताका रूपमा चिनिएका छन् । उनको निवासको एउटा कक्षमा १७ वर्षअघिकै जस्तो पुस्तक/पत्रिकाको संग्रह छ । ‘जोशमनी सन्त परम्परा र साहित्य’ (२०२०) र ‘नेपाली भाषा र साहित्य’ (२०२१) जस्ता उनका कृति अहिले विश्वविद्यालय तहका सन्दर्भ पुस्तक हुन् ।


‘यो पुस्तक संकलन र संग्रहलाई जतनले राख्ने भन्दै केही विद्वान्हरू माग्न आउनुभएको थियो तर संस्थागत रूपमा कोही आएको छैन,’ कमलाले सुनाइन् । आफूले खुबै सुनेको मदन पुरस्कार पुस्तकालयमा यी पुस्तक संगृहीत गर्न सकिने भए पनि ‘त्यो समुद्रमा एउटा थोपो मिसाएजस्तो हुन सक्ने’ भनेर कहीं, कतै सम्पर्क नगरेको उनले बताइन् । शरदचन्द्रको संकलनमा अनुराग, अभिलेख, आँखा, मोती ग्रन्थावली, पारिजात, रूपरेखा, प्रगति, प्रज्ञा, शारदा, उत्साह, रमझम, जुहीजस्ता दर्जनौं ‘दुर्लभ’ साहित्यिक पत्रिकाको संकलनसमेत छ । ‘बरु यहीं भएको एक आना जमिनमा उहाँको नाममा सानो पुस्तकालय बनाउनुपर्छ भनेर छोराछोरीसँग सल्लाह गरेकी छु,’ कमलाले थपिन्, ‘६ छोराछोरी ६ तिरै लागेकाले म यो काममा एक्लिएकी छु ।’


शरदचन्द्रजस्तै भाषा–साहित्यका अन्वेषक शिव रेग्मीको भीमसेनगोला, मयूरमार्गस्थित निवासको ‘व्यक्तिगत संग्रहालय’ को हालत पनि त्यस्तै छ । दुई महिनाअघि मात्रै अन्वेषक रेग्मीको निधन भएपछि उनकी छोरी शैलजा र ज्वाइँ प्रमोद भट्टराईले बुबाको जीवनभरको संग्रहलाई जोगाएर राखेका छन् । रेग्मीको संग्रहमा मदन पुरस्कार पुस्तकालयमा समेत नभएका केही ‘दुर्लभ संग्रह’ रहेको पुस्तकालयकै प्रतिनिधिले स्विकारेका छन् । ‘बुबाकै नाममा सिंगो एउटा तला छुट्याएका छौं, कति पुस्तक/पत्रिका महत्त्वपूर्ण र दुर्लभ हुन् भनेर हामीले खुट्याउन सकेका छैनौं,’ रक्षा मन्त्रालयमा उपसचिव तहमा कार्यरत शैलजाले भनिन् ।


यो संग्रहमध्ये केही पुस्तक/पत्रिका मार्टिन चौतारीले संग्रहमा राख्ने र केहीको मदन पुरस्कार पुस्तकालयले ‘डिजिटलाइज’ गर्नेबारे एक चरणमा कुराकानी भएको उनले सुनाइन् । ‘म मरेपछि मेरा पुस्तक संग्रहको, शोध–अनुसन्धानको हालत के होला भन्ने चिन्ता लागिरहन्छ,’ अध्येता रेग्मी सधैंजसो अन्तर्वार्तामा भनिरहेका हुन्थे । उनको भनाइमा, झन्डै आधा शताब्दीको अवधिमा उनले २५ हजारभन्दा बढी पुस्तक संग्रह गरेका थिए ।


‘यसैगरी सधैंभरि यो संग्रह जोगाएर राख्न सकिएला भन्ने लाग्दैन,’ रेग्मीका ज्वाइँ प्रमोद भन्छन्, ‘हाम्रो पुस्तामा यस्ता पुस्तक/पत्रिकामा त्यति रुचि छैन, अब हाम्रा छोराछोरीले पनि त्यति धेरै (बुबाकै जस्तै) अपनत्व देखाउलान् जस्तो लाग्दैन ।’ श्रीमती ज्वाला रेग्मीको २०७२ सालमा निधन भएपछि अन्वेषक रेग्मी भीमसेनगोलामै छोरी–ज्वाइँका साथमा बसेका थिए ।

 

शैली

भोलि थाहा छैन

- कान्तिपुर संवाददाता

साहित्यिक पत्रकारिताका अगुवा रोचक घिमिरे, शरदचन्द्र रेग्मीको जस्तै काठमाडौंभित्रै दर्जनौं लेखक/स्रष्टाका पुस्तकालयको हालत दयनीय रहेको बताउँछन् । ‘यहाँ न राम्रो र गतिलो सरकारी तहको पुस्तकालय छ, न संग्रह गरिदिने संस्थागत पद्धति छ,’ साहित्यिक पत्रिका ‘रचना’ का सम्पादक घिमिरे भन्छन्, ‘भएका राष्ट्रिय पुस्तकालयहरू पनि बोराभित्र किताब हालेर बसेका छन्, निजी तहको मदन पुरस्कार पुस्तकालयलाई मात्रै सबै भण्डारण गर भन्न सकिने स्थिति छैन ।’


उनले उमेरमा ८० पार भइसकेका र भाषा–साहित्यमा रुचि राख्ने अधिकांश स्रष्टाको ‘घरेलु पुस्तकालय’ को हालत उस्तै रहेको बताए । ‘नगेन्द्रराज शर्मा र मैले आफूसँग भएका केही पुस्तक/सामग्री स्रष्टा जगदीश घिमिरेका नाममा रामेछापमा खुलेको पुस्तकालयमा दिएका छौं,’ उनले भने, ‘तर अन्वेषक काशीनाथ तमोट, अच्युतरमण अधिकारी, (स्व.) भवानी घिमिरे, कृष्णप्रसाद श्रेष्ठ बीए (धरान) सहितका धेरै साधकसँग रहेको संग्रह भोलि के होला भन्न सकिने स्थिति छैन ।’


आधा शताब्दी पुरानो एक निजी प्रकाशन गृहका अधिकारीका बुझाइमा पुस्तक संग्रह र पठन प्रवृत्तिको कुरामा सरकारी तह पूरै ‘उदासीन’ छ । केशर पुस्तकालय, त्रिवि केन्द्रीय पुस्तकालय, राष्ट्रिय पुस्तकालय, डिल्लीरमण पुस्तकालय, सार्वजनिक पुस्तकालयको हकमा कि त अनेक ‘क्राइटेरिया’ का कारण अथवा कि त ‘आफ्नै कन्तबिजोग’ का कारण लेखकहरूले त्यहाँ सम्पर्क गर्नै चाहँदैनन् । निजी तहको मार्टिन चौतारी पुस्तक संग्रह र पठन शिल्पी बढाउनमा मद्दत गरेको छ तर केही साहित्यिक अन्वेषककै परिवार सदस्य पनि ‘निजी तहमा भाडामा सञ्चालित पुस्तकालयको दिगो भर नहुने’ भन्दै तर्कने गरेका छन् ।


मदन पुरस्कार पुस्तकालयसम्बद्ध अनुसन्धाता दीपक अर्याल भाषा–साहित्यका सामग्री/लेखोट सकेसम्म संकलन र संग्रह गर्न पुस्तकालय तत्पर रहेको बताउँछन् । ‘यसरी पुस्तकालयमा दिइने भनेको कतिपय ‘सौजन्य’ सामग्री पुस्तकालयमा संगृहीत भइसकेका पनि हुन सक्छन्,’ अर्याल भन्छन्, ‘यसकारण कतिपय अवस्थामा सामग्री छानेर मात्रै लिनुपर्ने पनि हुन सक्छ ।’ उनले पुस्तकालयमा समेत नरहेका ‘प्रगति’, ‘भानु’ जस्ता केही पत्रिकाका केही अंकहरू अन्वेषक शिव रेग्मीकहाँ हुन सक्ने प्रारम्भिक शोधमा भेटिएको जानकारी दिए । ‘हामीले यादव खरेल, माधवप्रसाद पोखरेलका ‘सौजन्य’ सामग्रीहरू पाइसकेका छौं । आरडी प्रभास चटौतले पाण्डुलिपिसहितका पुस्तक बुझाउनुभएको छ,’ अर्याल भन्छन्, ‘यसरी स्वविवेकमा संग्रह गर्न दिएमा अथवा डिजिटलाइज मात्रै गरिएमा पनि सिर्जना सुरक्षित हुने थियो भन्ने हाम्रो आग्रह हो ।’

शैली

पानी माग्दा मोही दिने...

- कुम्भराज राई

(ओखलढुंगा) - चार दिनदेखिको झरी र हावाहुरीले मौसम खुलिरहेकै थिएन । बुधबार मौसम खुलेपछि भने ओखलढुंगा महोत्सवमा दर्शक आउने क्रम बढ्यो । त्यतिखेरै स्टेजमा लोक दोहोरी गायक नवीन पौडेल देखिए ।
‘मुसुमुसु हाँस्यौ मानिछौ र कि सरम, हाई भनौं कि गुड गरम...’ गाउँदै उनी स्टेजमा उक्लिनेबित्तिकै दर्शकले हुटिङ सुरु गरे । ‘बहिनी कति जाति, पानी माग्दा मोही दिने, एक्लै हुँदा रोइदिने...’ बोलको गीतसँगै उनले दर्शकलाई जुरुक्क उचाले । पाँच दिनदेखिको मौसमले साथ नदिएर निराश बनेका दर्शकसमेत पौडेलको साथमा रमाए ।


उनले चोटिलो व्यंग्यसहितको लोक गीतमा सँगसँगै गाएर दर्शकले साथ दिए । ‘पल्ला घरका जेठाजुले आईए बीए पढ्छन्, हाम्रा घरका त भर्‍याङ चढदा लड्छन । के सम्झिनु छ र, जान्न म त त्यो घर...’ जस्ता शब्दका कारण उनले वान्समोर पाए । ‘जोगाउनै गाह्रो फुलेको तोरीलाई, बैंस आको छोरीलाई, मन परेरै हो...’ लगायतका गीत उनले गाए ।
त्यसैगरी, अर्का गायक प्रकाश कटवालले स्टेजलाई थप तताए । छिमेकी जिल्ला रामेछापकै गायक भएकाले पनि उनलाई दर्शकले कुरेर बसेका थिए । ‘फूल फुल्यो केशरी...’ गीतबाट स्टेजमा प्रवेश गरेका उनले आफ्ना लोकप्रिय गीतहरू, ‘ढाडे बिरालो...’, ‘सुन्दर रामेछाप...’ लगायत गरी आधा दर्जन गीत गाए ।
कटवालसँगै दर्शक पनि पसिनापसिना भए । चैत ३० देखि सुरु भएको ओखलढुंगा महोत्सवमा दिनहुँ राष्ट्रियस्तरका कलाकारले प्रस्तुति दिएरहेका छन् । हालसम्म शिव परियार, नवीन ढुंगेल, खुमन अधिकारी, बालकुमार श्रेष्ठ, हेमा राना मगर, हास्य कलाकारद्वय बले, कक्रोजलगायत गरी दर्जनौंले प्रस्तुति दिइसकेका छन् । वैशाख १० सम्म चल्ने महोत्सवमा थुप्रै कलाकारको प्रस्तुति बाँकी रहेको आयोजक ओखलढुंगा उद्योग वाणिज्य संघले जनाएको छ ।

शैली

‘ब्याड भाले’ लाई बाह्रखरी पुरस्कार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नारीको अव्यक्त र सूक्ष्म यौन संवेदनामाथि लेखिएको कथा ‘ब्याड भाले’ ले बाह्रखरी कथा प्रतियोगितामा उत्कृष्ट हुँदै एक लाख रुपैयाँ जितेको छ । कथाकार बिना थिङ तामाङले सन्तान उत्पादनको लागि अक्षम पतिका कारण यौनेच्छालाई दबाउन बाध्य विवाहिता महिलाको असन्तुष्टिलाई कथामा यथार्थ चित्रण गरेको निर्णायकले बताए ।


विगतको माओवादी र सेनाबीचको द्वन्द्वमा एक विद्रोही पात्रको अनुभूति र उसको नियति प्रस्तुत गरिएको लक्ष्मण वियोगीको कथा ‘टाउको’ ले द्वितीय हुँदै ६० हजार रुपैयाँ जित्यो । सुमित्रा न्यौपानेले ‘बार्दली’ शीर्षकको कथाबाट तृतीय हुँदै ४० हजार रुपैयाँ जितिन् । कथामा न्यौपानेले बाध्यतामा परेर भाडाकी आमा (सरोगेट मदर) बन्न विवश एउटी नारीभित्रका द्वन्द्व, संवेग र अनुभूतिहरूलाई चित्रण गरेकी छन् ।


प्रतियोगितामा नौ सय कथाबाट उत्कृष्ट छनोट गरिएको आयोजक बाह्रखरी बुक्सले जनाएको छ । निर्णायक मण्डलमा राजेन्द्र फराजुली, गोविन्द अधिकारी, लेनिन बञ्जाडे, अक्षर काका र राजेश खनाल रहेका थिए । शुक्रबार राजधानीमा आयोजित कार्यत्रममा उत्कृष्ट तीनसहित २५ कथाकारको कथा समेटिएको पुस्तक ‘उत्कृष्ट कथा २०७६’ पनि विमोचन गरिएको थियो ।

शैली

पारिजात सम्मान घोषणा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पारिजात स्मृति केन्द्रले ‘पारिजात सिर्जन सम्मान’ आनन्ददेव भट्टलाई, ‘पारिजात संघर्षशील नारी सम्मान’ सरिता डंगोललाई, ‘पारिजात कला सम्मान’ रामकृष्ण दुवाललाई तथा ‘पारिजात बालसाहित्य सम्मान’ खगेन्द्र संग्रौलालाई प्रदान गर्ने घोषणा गरेको छ ।


त्यस्तै, पारिजातको लेखन र जीवनका विषयमा विद्यावारिधि गर्ने कृष्णप्रसाद घिमिरे, चन्द्रमान श्रेष्ठ, नयना प्रधान, बद्रीविशाल पोखरेल, भवानीप्रसाद पाण्डे, हरिहर भण्डारी र सिर्जना शर्मालाई पारिजात सम्मान प्रदान गर्ने निर्णय गरेको केन्द्रका सदस्यसचिव स्नेह सायमीले जनाए । २६ औं स्मृति दिवसको अवसरमा बिहीबार राजधानीको म्हैपीमा आयोजित पारिजातको प्रतिमा माल्यार्पण समारोहमा सम्मान घोषणा गरिएको हो । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायनले पारिजातको साहित्यिक योगदानबारे बताएका थिए ।

शैली

पोस्टरमा ‘जात्रैजात्रा’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सफल फिल्म ‘जात्रा’ को सिक्वेलका कारण पनि प्रतीक्षित बनेको ‘जाक्रै जात्रा’ को शुत्रबार फस्टलुक सार्वजनिक गरिएको छ । जेठ ३ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको प्रदीप भट्टराई निर्देशित उक्त फिल्मको फस्टलुकमा मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्र झा, रवीन्द्रसिंह बानियाँ, वर्षा राउतसँगै यस पटक थपिएका दयाहाङ राई, राजाराम पौडेल पनि अटाएका छन् । षडकोण आर्टसको ब्यानरमा यज्ञेश्वर पौडेल र सिंगे लामाको लगानी रहेको फिल्मलाई निर्देशक भट्टराईले नै लेखेका हुन् ।


फिल्ममा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कृष्णभक्त महर्जन, कवीन्द्र त्रिपाठीको समेत अभिनय छ । मित्र डी गुरुङको सम्पादन रहेको ‘जात्रैजात्रा’ लाई शिवराम श्रेष्ठले खिचेका हुन् ।

Page 17
कोसेली

विवेकविरोधी 'पाठशाला'

सिंहदरबार
- यादव देवकोटा

द्रोर्णाचार्यद्वारा धनुर्विद्या सिकाउन जात र सामाजिक हैसियतका कारण अस्वीकार गरिएका एकलव्य उनै द्रोणको मूर्ति बनाएर स्वध्यन गर्दै अद्वितीय धनुर्धर भएर निस्कन्छन् । अर्जुनलाई अद्वितीय र अपराजेय धनुर्धर बनाउने वचन दिएका द्रोण एकलव्यको चमत्कारपूर्ण धनुर्ज्ञानबाट हतप्रभ बन्छन् । एकलव्यलाई बाटोबाट पन्छाउन सुरुमा उनीमाथि बिनागुरु विद्या आर्जन गर्नु चोरी गर्नुसरह हो भनेर दण्डको भागीदार बनाउन खोजेपछि एकलव्यले आफुले द्रोणकै मूर्ति राखेर धनुर्विद्या सिकेको प्रमाणित गरिदिन्छन् । त्यसले द्रोण झनै बेचैन हुन्छन् । र, आखिरी षड्यन्त्रको अर्को ‘प्लट’ तयार छ, द्रोणसँग । आफूले कहिल्यै विद्या नसिकाएका एकलव्यसँग गुरु दक्षिणा माग्छन् । स्वेच्छिक दक्षिणाको माग गर्न गुरुलाई मौका छोडेका सरल एकलव्य गुरुको चलाखीपूर्ण मागको बन्धनमा पर्छन् । धनुर्वाण चलाउन महत्त्वपूर्ण मानिने बुढीऔंला मागेर एकलव्यलाई निसानेबाज धनुर्धर बन्न नदिने छल द्रोणले गरे पनि वचनमा प्रतिबद्ध एकलव्य द्रोणलाई निःसंकोच आफ्नो बुढीऔंला काटेर गुरुभेटी चढाउँछन् । यो कथाको पूर्वकथन हो । अब मुख्य तथ्य ।

अहंले उठेको सिंहदरबार
विसं १९५८ असार १० मा आफ्नै सहोदर दाजु देवशमशेरलाई जमल सेतो दरबारमा पाता फर्काएर कुर्सीमा बाँधी कोठामा कैद गरेर सत्तामा उदाएका चन्द्रशमशेरलाई बस्नका लागि फराकिलो दरबार चाहिएको थियो । त्यस्ता दरबारहरूको खोजबिनका क्रममा उनले जेठा दाजु वीरशमशेरले बनाएको लालदरबार र सेतोदरबारमा आँखा लगाएका थिए । दरबारका हकवालाहरूसँग कुरा गर्दा तेजशमशेर र गेहेन्द्रशमशेरले चन्द्रशमशेरका दूतहरूलाई ‘चन्द्रशमशेर हाम्रो दरबारको मोल तिर्न सक्ने अवस्थामा त छन्’ भनेर टक्टक्याएपछि चन्द्रशमशेरले ती दरबारहरू खरिद गर्ने आँट गर्न सकेनन् । त्यसपछि उनी रुद्रशमशेरको चारबुर्जे दरबार र जितशमशेरको लाजिम्पाट दरबारमा आँखा डुलाउँदै थिए, इन्जिनियरद्वय कुमार/किशोरनरसिंह राणाले वर्ष दिनभित्रै चाहेजस्तो दरबार बनाइदिने बताएपछि उनी मोडिए, आफ्नै नयाँ दरबारको निर्माणमा ।


नयाँ दरबार बनाउने प्रयोजनका लागि कुल्लगाँ (अनामनगर)–पताबुँ/खुसिबुँ (सिंहदरबार) मा ३ सय ५० रोपनी जमिन प्रति रोपनी रु. ९० का दरले मुआब्जा दिएर चन्द्रशमशेरले जबर्जस्ती अधिग्रहण गरे । ‘छरिया’ जङ्गलबाट ढिडो र नुन मात्र खर्च दिएर काठ कटाइयो र बोकाइयो । निमार्णका लागि सैनिक, प्रहरी र कैदीहरूलाई दैनिक ४ देखि ६ पैसा मात्रै दिएर काममा लगाइयो, जतिबेला दैनिक कमसेकम २५ पैसादेखि ६० पैसासम्म ज्याला चलेको थियो । यसरी सिंहदरबारको जग खडा गर्दा नै जबर्जस्ती, पसिनामाथि लुट सुरु भयो ।


अठार महिनामा तयार भएको चन्द्रशमशेरले बनाएको नयाँ दरबारको खर्च अधिकतम ५० लाख भएको थियो (पाँडे, भीमबहादुर– त्यस बखतको नेपाल, पृष्ठ २५०) । दरबार निर्माण भइसकेपछि एक दिन चन्द्रशमशेरले आफ्नी कान्छी पत्नी बालकुमारी देवीसँग दरबारको कौशीमा थिए । उनले परको दरबार अैल्याउँदै भने, ‘ऊ बाघदरबार !’ बालकुमारीले अहंताका साथ भनिन्, ‘महाराज ! त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला ?’ यसरी उक्त दरबार सिंहदरबारका नामले चिनिन थाल्यो (राणा, पुरुषोत्तमशमशेर, राणाकालीन ऐतिहासिक दरबारहरू, पृ ७८) । यसरी यसको नामकरण नै अरूभन्दा ठूलो देखिने या त्योभन्दा म पो भव्य, म पो ठूलो भन्ने अहंताको उतकर्षमा प्रकट भएको देखिन्छ । आज पनि सिंहदरबार, अरूलाई हियाउन आफ्नो अहंको प्रकट गर्न सधैं अग्रणी छ ।

राज्यकोषमा छुरा
त्यसपछि सिंहदरबार छिरेका चन्द्रशमशेरले ५० लाखमा बनाएको दरबार उप्रान्त राज्यको भएको घोषणा गर्दै राज्यकोषबाट २ करोड नगद निकाले । यसरी डेढ करोड नाफा गरेर चन्द्रशमशेरले राज्यको ढुकुटीबाट डेढ करोड नगद अनधिकृत रूपमा कुम्ल्याए । यसरी सुरु हुन्छ सिंहदरबारको यात्रा राज्यकोषबाट कमिसन खाएर । त्यसमा चन्द्रशमशेरले खाएको डेढ करोडमाथि कति थपियो होला आजसम्म सिंहदरबारमा बसेर खाएको कमिसनको हिसाब । देश टाट उल्ट्याएको हिसाब ? आज झन् नाफाको जिन्दगी भन्दै सिंहदरबार पुगेकाहरूले राज्यकोषको ढुकुटी मारेर, देश कंगाल बनाएर मुनाफा जोहो गर्ने क्रम बढोत्तरीमा छ ।

चन्द्रशमशेरको शासनकाललाई नेपालको इतिहासमा अँध्यारा दिनहरूको सुरुआत भन्नु गलत हुने छैन (गौतम, राजेश– नेपालको प्रजातान्त्रिक इतिहासमा प्रजा–परिषद्को भूमिका भाग १, पृ २७) । सिंहदरबरमा बसेका चन्द्रशमशेर आफूले भन्दा बढी नाम अरू कसैले नकमाओस् भन्ने चाहन्थे । देवशमशेरलाई सत्ताच्यूत गर्न अघि सारिएका गेहेन्द्रशमशेरलाई चन्द्रले अघि बढ्न दिएनन् । भनिन्छ, गेहेन्द्रको भीमकाय कायासँग त्रस्त चन्द्रले गहेन्द्रलाई सुसारेमार्फत मदिरामा मन्द विष मिसाएर सिध्याइदिए । आज पनि सिंहदरबारमा विराजमान हुने हरकोही शासक, नोकरशाहीका हाकिमहरू अरूलाई आफूभन्दा नीच देखाउन आफ्ना सारा तागत लगाइरहेका हुन्छन् । यताका दिनमा आफ्नै पार्टीका आफू सरहको नेतालाई देश विखण्डनको भारी बोकाइएका ढोडको लौरोसँगको तुलना त्यही चन्द्रशमशेर ‘स्कुल’ को चेतनाको निरन्तरता मात्रै थियो ।


धादिङ चरङ्गेका अच्युतानन्दले बनाएको हवाइजहाज उडाउनै दिइएन । नेपालको बन्द समाजमा जन्मेका अच्युतानन्दले काशीमा पढ्न जाँदा रेल देखे, चढेका थिए । त्यसैको भरमा उनले नेपाल फर्किएर सामान्य गाडाजस्तो चार जना चढ्न मिल्ने वाष्पशक्तिले चल्ने गाडी बनाए । गेहेन्द्रशमशेरले आफ्ना पिता वीरशमशेरसँग भनेर दस हजार दिलाइदिएका थिए अच्युतानन्दलाई । वीरको मृत्यु र देवशमशेरको छोटो कार्यकालपछि चन्द्रशमशेर सत्तामा आए र सिंहदरबार बनाई त्यहाँबाट शासन चलाउन लागेपछि उनै चन्द्रको समयमा एक दिन बाहिरी सूचनालाई मुठ्ठीले च्यापेर बन्द गराई राखिएको समाजमा उनले सुने, ‘मानिसले विमान चढेर आकाशमा उड्यो ।’ वीरशमशेरको पालामा आफूले बनाएको गाडी गुडाउन नदिएपछि हतोत्साही भएका अच्युतानन्द उत्साही भए— गुड्नलाई त मानिसले मलाई बाटो दिए, उड्नलाई त कसले रोक्न सक्छ ? आकाश त सबैको साझा हो ।


अनेकन मिहिनेतपछि तयार पारिएको उनको जहाज दरबारमाथि पनि उड्छ र विष्णु भगवान्को अवतारलाई मानिसले नाघ्छन् भन्ने अड्को थापेर कहिल्यै विमान उडाउने अनुमति दिइएन । अच्युतानन्दलाई हतोत्साही बनाउँदै मानसिक तवरले समेत विक्षिप्त बनाइयो (सम, उही, पृ १०५) । आज पनि अवस्था फरक छैन । देशका लागि वैज्ञानिक अनुसन्धान केन्द्र खोल्छु भनेर रोइकराइ गरेका महावीर पुनले राज्यबाट अपमानित हुनुपरेको छ । आवश्यक रकम जम्मा गर्न देशदेशावरमा सहयोगको पछ्यौरी थाप्नुपरेको छ । तर, उपयुक्त चिकित्सकीय उपचारको हक छिनेर बाल महाराज र वृद्ध महाराजको नाममा राज्यकोषको करोडौं रुपैयाँ लगानी गरेर आश्रम बनाइन्छ । उत्सव आयोजना गरेर चन्द्रशमशेरको सिंहदरबारका उत्तराधिकारी अट्टहास गर्छन्— यी बालक आजको विज्ञानका लागि चुनौती हो ।


विसं १९६९ मा बाबुराम आचार्यले ‘नेपाली शिक्षा दर्पण’ लेखेर प्रकाशित गरेका थिए । जसमा उनले राणाशासनलाई जापानका सोजुनहरूसँग दाँजेका थिए । चन्द्रशमशेरले प्रकाशित बाह्र सय प्रति पुस्तक जफत गर्न लगाए । त्यसको बदलामा नेपाली इतिहासका प्रखर मर्मज्ञ बाबुराम आचार्य राणाशासनकालभर खरिदारभन्दा माथि उक्लन पाएनन् । प्रजातन्त्रपछि मात्र उनी ‘इतिहास शिरोमणि’ ले विभूषित भए । राणाकालका अँध्यारा दिनमा कस्ता विद्वान्ले खरदारमै सीमित हुनुपर्‍यो र कस्ताले ‘विद्वच्छिरोमणि’ को ताज पहिरिए भन्ने नेपाली समाज, विद्या र ज्ञानका लागि खुला भएपछि प्रकट तिनको योगदानबाटै प्रस्ट हुन्छ ।


तिनै बाबुरामको पुस्तक प्रकाशित भएपछि चन्द्रशमशेरले उप्रान्त पुस्तकहरू आफ्नो रेखदेख र अनुमतिमा मात्रै छपाउनुपर्ने आदेश दिई त्यसका लागि विसं १९७० मा ‘गोरखा भाषा प्रकाशिनी समिति’ गठन गराई आदेश दिएका थिए— अबउप्रान्त जुनसुकै कुराको किताब छपाउनुपर्दा, गोर्खा भाषा प्रकास समितिमा लगी जँचाई, छाप्न, छपाउन हुन्छ भन्न्ये निस्सा लगाई दिएपछि मात्र छपाउन हुन्छ, निस्सा नली तेसै छापने छपाउने गर्न हुँदैन,....सो निस्सा नली तेसै छापने छपाउनेलाई, छापी प्रकाश गर्न हुने लायक्को कुरा लेखिएको किताप भए ५० रुपैया दण्ड गर्नु (राणाकालको मुलुकी ऐनको अदलको ३१ नं) ।


आज पनि चन्द्रशमशेरका उत्तराधिकारीहरू सिंहदरबारमा बसेर मानिसका विचार, अभिव्यक्तिलाई नियन्त्रण गर्न भनिरहेका भेटिन्छन्— गाऊ न गाऊ, तर यो गीत नगाऊ ।


सिंहदरबार पुगेपछि मानिस किन बदलिन्छ ?
सिंहदरबार छिर्नुअघिसम्म आफूलाई उदार र रामभक्त भन्ने भीमशमशेर शिरमा महाराजको ताज पर्नासाथ बदलिए र कर्मचरी तथा भारदारमाथि बदला लिन तम्सिए । महाराजको पगरी शिरमा परेपछि भीमशमशेर अत्यन्तै क्रोधी र घमण्डीसमेत भएका थिए । अघिका प्रधानमन्त्रीले जस्तै उनले पनि शक्तिमा जानासाथ राष्ट्रको आम्दानीबाट बचेको सबै रुपैयाँ आफ्नो खल्तीमा हालेर एकदमै धनी भएका थिए ।


भीमशमशेरका उत्तराधिकारीका रूपमा आज पनि अनेकन संघर्ष, आन्दोलन गरेर सिंहदरबार पुगेर बदलिएका शासकहरूमा भीमशमशेरको क्रोध, बदलाको भावना र अहंकार उसैगरी हस्तान्तरण भइरहेको छ । भीमशमशेरझैं सिहंदरबार पुगेपछि बदलिने क्रम जारी छ । राष्ट्रको ढुकुटी मारेर आफ्नो खल्ती भर्ने र रातारात निजी जीवनमा समृद्धि ल्याउने क्रम जारी छ । जनतालाई झन्झन् हीनतर बनाउने र आफू भीमशमशेरहरूभन्दा पनि धनी बन्ने क्रम जारी छ । आफूलाई, आफ्नो सत्तालाई अलिकति खतरा देख्नासाथ आफ्नै मित्रमण्डलीलाई दूर हुत्याउने प्रथाको निरन्तरतामा सिंहदरबारले आज पनि नयाँ नयाँ रुद्रशमशेरको सिकार गरिरहेको छ । त्यहाँ पुग्नासाथ अहंकारले हिजो हिँडेरै आएको बाटो नै बिर्सनेहरूको सूची लम्बिँदै आउँदा आजका दिनमा पुष्पकमल दाहालमा आएर अडिएको छ । निश्चय छ, सिंहदरबाररूपी कलुषित पाठशालाको सिकाइ नबदलेसम्म नयाँ पुष्पकमलहरूको सिलसिला जारी रहनेछ ।


यो आलेख तयार गर्नुअघि पंक्तिकारले अनेकबार पढे, सुनेको छ— आखिर सिंहदरबारमा के छ, जसले मै हुँ भन्नेलाई पनि बदलिदिन्छ ? सत्तामा नपुगुन्जेल हो ठूला कुरा, सिंहदरबार पुगेपछि नेता औकातमा आउँछ । दशकौं संघर्ष गरेर, बलिदानको राजनीति गरेर सिंहदरबार पुगेको नेता वर्ष दिनमा असली हैसियतमा प्रकट भयो ! त्यसमा अनेकन अरू थप टिप्पणीहरू यहाँ सामेल गर्न सम्भव छैन । लाग्यो, साँच्चै किन बदलिन्छ हँ उही मानिस सिंहदरबार पुगेपछि ? शासक मात्रै हैन, प्रशासकका रूपमा सिंहदरबार पुगेका पनि किन बदलिन्छन् त्यहाँ पुगेर ? के छ सिंहदरबारको पाठशालामा जसले कलुषित बनाउँछ आफ्ना चेलाहरूलाई ?

फासीको तख्ता
विभिन्न शास्त्र र धर्मग्रन्थको व्याख्या गराएर सिंहदरबारमा भएको प्रजापरिषद्का कार्यकर्ताहरूको सुनुवाइमा माहिला गुरुज्यू हेमराज पाण्डे र पण्डित सोमनाथ सिग्द्यालले देशमा स्वतन्त्रता र नागरिक अधिकारको माग गरेकाहरूलाई ज्यान सजाय दिने माग गरे । स्वतन्त्रताको गला दबाउन चाकरीदारहरू जम्मा गरेर उज्यालोको पक्षमा उभिएकाहरूमाथि दमन गर्ने जुद्धशमशेर प्रवृत्तिको उत्कर्षमा धर्मझक्त माथेमा, शुत्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्द मारिए । कैयनले सर्वस्वहरण र जन्मकैदको यात्रा स्विकारे । तर समयको चेतना र स्वतन्त्रताको उज्यालोलाई कथित शास्त्रहरूको रटान दिएर गला रेट्न सुझाव दिनेहरू, विदेशीलाई देशका अप्रकाशित पाण्डुलिपि, महत्त्वपूर्ण सामग्री हात लागि गरिदिएकै कारण, राज्यकोषबाट खातिरदारी गराइदिएकै कारण विद्वान् मात्रै होइन ‘जीवित ज्ञानकोष’ को पाल्सी महिमा छपाउन सफल भए । के आज पनि यो स्थितिमा बदलाव आएको छ ?
बालकृष्ण सम लेख्छन्, ‘एक दिन जनरल प्रचण्डले ममाथि दया देखाई एकान्तमा भने— हेर बाबु, तुलसीमेहर थुनिएकोबाट तिमीले महाराजको आशय बुझ्नुपर्ने ! घरबुना लगाएको मन पर्दैन । मैले भनेको मान्छौ भने तिमी पनि अब नलगाऊ ।’ कस्तो अँध्यारो ? हो नि अँध्यारोमा त नांगै हिँडे पनि कसले देख्छ र ! दरबार बुझ्ने प्रचण्डले भनेको मैले मानें, अनि विदेशी कपडा लगाउन थालें तर टोपीचाहिँ भक्तपुरे नै लगाउन छाडिनँ (मेरो कविताको आराधन, पृ ३१६) ।


आज पनि यो देशलाई कमजोर बनाउने, देशका नदीनाला बेच्ने, सत्तामा रहन, टिक्न विदेशीका गुलामी गर्ने, देशको उत्पादन क्षमता कमजोर बनाई विदेशी सामान आयात गर्ने र देशलाई टाट उल्ट्याउने काम देहातको कुनै झुपडीबाट हैन सिंहदरबारबाट भइरहेको छ । सिंहदरबारमा आसीनबाट भइरहेको छ । देशका संवेदनशील सूचनाहरू विदेशीलाई हस्तगत गर्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने क्रम तीव्रत्तर भइरहेको छ ।

विवेकलाई तरबार
भारतबाट एक पटक सच्चिदानन्द काठमाडौं आएका थिए । उनी पशुबलिको विपक्षमा प्रवचन दिंदै हिंडेका थिए जताततै । नेपाली दरबारका पण्डित, पुरोहितहरू शक्तिपीठहरूमा दिइने बलिको कट्टर पक्षपाती थिए । चन्द्रशमशेरले सिंहदरबारमा नेपाली गुरुपुरोहित, पण्डितहरू र सच्चिदानन्दबीच बहसको आयोजना गरे । एकातिर माहिला गुरुज्यू हेमराज र नेपाली पण्डितहरू थिए भने अर्कातिर सच्चिदानन्द । बहसमा सच्चिदानन्दले बली प्रथामाथि सारा धार्मिक शास्त्र र पौराणिक कथनहरूको बलमा आलोचना केन्द्रित गरेपछि हेमराज तथा उनको पक्षका सारा पण्डितहरू क्रुद्ध भए र कराउन लागे, ‘हाम्रो चलिआएको सनातन धर्मको विरुद्ध बोल्ने यस्त पाखण्डी अघि पनि धेरै आएका थिए । हाम्रो गुह्येश्वरी माईलाई रगतको नित्य भोग चाहिन्छ । त्यो बन्द गराउन खोज्नेलाई हामीले पिटेर धपाएका थियौं । अहिले पनि यस्तो पाखण्ड’ (सम, उही, पृ २३५) ?


सिंहदरबारमा सत्ताको आडमा त्यसअघि नै आर्य समाजी माधवराज जोशी र उनका पक्षधरमाथि कुटपिट भइसकेको थियो । विसं १९६२ साउन १२ मा सिंहदरबारमा हेमराजको अध्यक्षतामा पण्डित मण्डली बनाई गरिएको शास्त्रार्थमा माधवराजले मूर्ति पूजाको तथ्यपूर्ण खण्डन गरेपछि पूर्वनिर्धारित योजनाअनुरूप ‘राजाको पालादेखिन् मानिआएको पशुपतिनाथलाई ढुंगा भन्नेलाई कुट्न पाऔं महाराज’ भनेर त्यहाँ उपस्थित सत्ता पक्षधर पण्डित मण्डलीले माधवराजमाथि बेस्सरी कुटपिट गरे (गौतम, उही, पृ ३०) ।
त्यसरी फरक मतमाथि दमन गर्ने शृंखलामा त्यसउप्रान्त पनि अनेकन माधवराज या सच्चिदानन्द सिंहदरबारको सत्ताकै आडमा कुटिएका, दबाइएका छन् । सिंहदरबारका मण्डलीबाट, मण्डलीका मण्डले योजनाबाट आज पनि नयाँ माधवराजहरूमाथिको दमन रोकिएको छैन । चन्द्रशमशेरका भारदार, मण्डलीको परम्परा सिंहदरबारका उत्तराधिकारी र तिनका भारदार मण्डलीले कुशलतापूर्वक निर्वाह गरिरहेका छन् ।


चन्द्रशमशेरको पालामा निजामती सेवाका सुब्बा कृष्णलाल अधिकारी कुनै बखत एक कुशल र इमानदार कर्मचारी कहलाइएका थिए । उनी मुद्दा–मामिला हेरी फैसला दिन साह्रै सिपालु थिए । त्यसैले श्री ३ महाराजको सवारी–सिकारीमा सधैं पर्थे । पातलो कदका भएकाले ‘च्यांग्रे सुब्बा’ भनी बोलाइन्थे । फुर्सद भएको समयमा किताब पढ्थे र लेख्थे । त्यही क्रममा उनले ‘मकैको खेती’ लेखी प्रकाशित गराएका थिए । पुस्तक लेखकले महाराज र मुख्तियारप्रति व्यंग्य गरी लेखेको हो भनी गुरुज्यू हेमराज पाण्डेले चन्द्रशमशेरलाई जाहेर गरे । अधिकारीले पुस्तक प्रकाशित गर्नुअघि पाण्डुलिपि जनरल केशरशमशेर, गुरु दुर्गानाथ, कवि शम्भुप्रसाद ढुंगेलसमेतलाई देखाउँदा मौखिक स्वीकृतिसमेत दिएका थिए । तर, हेमराजले विषयवस्तुको अर्कै अर्थ लगाएर चन्द्रशमशेरको कान फुकेपछि कृष्णलाललाई पक्राउ गरियो ।


हेमराजको चुक्ली कृष्णलालमै सीमित रहेन । विसं १९७७ भदौ ८ मा ‘गोर्खा शिक्षा माला (दोस्रो भाग)’ मा सुब्बा राममणि आदीद्वारा लिखित श्लोकको अनर्थ लगाई हेमराजले चन्द्रशमशेरकोमा चुक्ली लगाए, ‘चन्द्रशमशेर नै अस्ताउन लागे भनी जनतालाई भड्काएर उकास्ने उद्देश्यले लेखिएको हो, त्यसैले लेखकमाथि कडा कारबाही गरिनुपर्छ ।’ तर, राममणि चन्द्रशमशेरको विश्वासपात्र हुँदा उनी बचे (राणा, प्रमोदशमशेर–राणाशासनको वृत्तान्त, पृ २१७–२१९) ।


विदेशका बफादार
चन्द्रशमशेर अत्यन्तै कुटिल, निष्ठुर र षडयन्त्रकारी थिए । ब्रिटिस दूतावासका कर्णेल बाङ्लीले अफ्ना परराष्ट्र सचिव ली वार्नरलाई लेखेको पत्रमा भनेका थिए, ‘देवशमशेरलाई हटाएर चन्द्रशमशेर प्रधानमन्त्री भएको हाम्रा लागि बेस भएको छ ।’ तिब्बतमाथि हमला गरेका अंग्रेजहरूलाई थापाथली सन्धिविपरीत सहयोग गर्ने कदमबारे सचेत गराउन खोज्दा मुन्सीखाना (परराष्ट्र विभाग) का सुब्बा देवीप्रसाद सापकोटालाई अंग्रेज विरोधीको आरोप लगाई जागिरबाट बर्खास्त गरिएको थियो । शासकहरूको स्वार्थभन्दा देशको स्वार्थ ठूले ठानेर, देशको अहित नहुने सुझाव दिने, देशको भलाइका लागि यत्न गर्नेहरू दण्डित हुने प्रथा सिंहदरबारका निर्माताले जसरी सुरुआत गरेका थिए, त्यो आज पनि सबा सय वर्ष पुरानो सिंहदरबारमा पुग्नेहरूबाट झन्झन् बढ्दै गएको छ । नेपालका दुर्लभ हस्तलिखित नेपालबाट खोजी बेलायतमा पठाएकाले चन्द्रशमशेरलाई बेलायतले ‘डक्टर अफ सिभिल ल’ को उपाधि दिएको थियो (राणा, प्रमोदशमशेर, उही, पृ १९८–२०४) ।


चन्द्रशमशेरले गोर्खा फौजमा भर्ती भएका गोर्खालीहरूलाई अधिकृत पदमा पदोन्नति नगरिदिन र अफिसरमा भर्ना नलिइदिन अंग्रेजहरूसँग अनुरोध गरेका थिए (राणा, उही, पृ २१५) ।


महालुट
धीरशमशेर गरिब भएकाले विसं १९४१ सालअघिसम्म नारायणहिटीमा रणोद्दीपको घरमा बस्नुपरेको थियो । उनका सत्र भाइ छोराहरूमध्ये कतिपय राम्रो पालनपोषण गर्न सकिने अवस्था नभएकाले आफ्ना काकाहरूको घरमा बसेका थिए । वीरशमशेर जङ्गबहादुरकहाँ बसेका थिए भने देवशमशेर कृष्णबहादुरकहाँ धर्मपुत्र भएर बसेका थिए । प्रधानमन्त्री बन्नुअघिसम्म भीमशमशेरलाई पन्ध्र हजार ऋण लागेको थियो । जुद्धशमशेरले घरखर्च चलाउने पैसा अपुग भएर जुवाडेहरूसँग सापटी मागेर घर खर्च चलाएका थिए । चन्द्रशमशेरसँग सजिलोसँग बस्ने एउटा गतिलो दरबार थिएन ।


विसं १९४२ मा रणोद्दीपको हत्या गरि धीरशमशेरका छोराहरूमा सत्ताको रोल ल्याएपछि रणोद्दीप र जगतजंगको धनमाल र जग्गाजमिन सबै वीरशमशेरले लिए । त्यसरी लिएकोमा नारायणहिटी दरबार पनि उनैको भागमा रह्यो । जितजंग र डम्बरजंगका जफत गरिएका महल खड्गशमशेरले पाए । युद्धप्रतापजंगको थापाथलीस्थित सिंहमहल (हालको राष्ट्र बैंक भवन) चन्द्रशमशेरले पाए । पद्मजंगको भाटभटेनीको महल भीमशमशेरले पाए । रणवीरजंगको निवास (हालको प्रहरी हेडक्वार्टर) फत्तेशमशेरले पाए । जितशमशेरले लाजिम्पाट दरबार (हालको शंकर होटल) पाए । आफ्ना छोरा र पत्नीहरूका लागि सत्तामा पुग्नासाथ वीरले राज्यकोषबाट रकम दोहन गरेर अनेकन दरबार बनाए । १९५४ मा जमलगण्डीका किसानहरूले धान फलाउने १ सय ८० रोपनी खेतबारी कब्जा गरेर चारबुर्जा दरवार बनाएका थिए । त्यसअघि १९४२ मा प्रति रोपनी रु. ६० मुआब्जा दिएर स्थानीय ज्यापूहरूबाट उठाइएको जमिनमा वीरले सेतो दरबार बनाएका थिए । टंगालदरबार, जावलाखेलदरबार, पानीपोखरी दरबार, भाटभटेनी दरबार, लाल दरबार, फोहरा दरबार, हात्तिसार दरबार वीरले आफ्ना सन्तानका लागि राज्यकोषको दोहनबाट निमार्ण गराएका थिए ।


वीरपछि सत्तामा उदाएका चन्द्रशमशेरले सिंहदरबार, सिंहमहल, लक्ष्मीनिवास, बबरमहल, केशरमहल, शीतलनिवास, श्रीदरबार, हरिहरभवनलगायतका दरबार बनाए आफ्ना सन्तानका लागि राज्यकोष निचोरेर । भीमशमशेरले उसैगरी आफ्ना छोराहरलाई महावीरभवन, ललितानिवास, टंगालदरबार निर्माण र विस्तार गरे, राज्यकोषबाटै ।


प्रधानमन्त्री बन्नुअघिसम्म जुद्धशमशेरको अवस्था कस्तो थियो भन्ने कुरा घरखर्च चलाउन उनले आदिभक्त माथेमा (धर्मभक्तका पिता), जुवाडे दिव्यदेव पन्तलगायतसँग ऋण लिएका थिए । तिनै जुद्ध सत्तामा जानासाथ राज्यको ढुकुटी ब्रह्मलुट गरेर आफ्न सबै विवाहिता, अविवाहिता, भित्रिनी, रानी, नानीबाट जन्मेका सन्तानका लागि नामी नामी महल बनाइदिए, रैथाने किसानहरूको खेतीयोग्य जमिन हडपेर या नाम मात्रको मुआब्जा दिएर ।


वीरशमशेरले १९४२ मा जंग र शमशेरहरूको खिचातानीमा रणोद्दीपको हत्या गरी सत्ता हत्याउँदा कलिलो उमेरका जुद्धलाई दाजु भीमशमशेरको रेखदेखमा राखिएको थियो । विसं १९४७ मा जुद्धलाई थापाथलीको एउटा दरबार दिंदा कम्पाउण्ड नभएकाले जुद्ध बस्न नमानेपछि वीरले आफ्नो निजी निवास जावलाखेल दरबार (हाल, स्टाफ कलेज) दिए । प्रधानमन्त्री नबनुन्जेल जुद्ध त्यही जावलाखेल दरवारमा ४४ वर्ष बसे । उनका सन्तानका लागि उनले त्यही जावलाखेल दरवार वरपर अनेकन भव्य भवनहरू बनाए । किरणशमशेरका लागि किरणभवन, नीरशमशेरका लागि नीरझवन, विक्रमशमशेरका लागि जावलाखेलमा वित्रमभवन, १९९१ मा सुरेन्द्रशमशेरका लागि झम्सीखेलमा सुरेन्द्रभवन (हाल नर्स तालिम केन्द्र), १९९४ नारायण भवन (महिला तालिम केन्द्र), १९९३ मा शान्तशमशेरका लागि शान्तभवन (पहिले अस्पताल), मानशमशेरका लागि मानभवन, १९९७ किरण भवन, १९९६ मा मीनशमशेरका लागि मीनभवन र रविशमशेरका लागि रविभवन, १९९७ मा शशिशमशेरका लागि शशिभवन (हाल प्रधानसेनापति निवास) ।


विवाहितापट्टिबाट जन्मेका उपेन्द्रशमशेर सानैमा बितेका थिए । बाँकीमा रुद्रशमशेरलाई १९९० मा निष्कासित गर्दा जफत गरिएको चार बुर्जा दरबार (हालको निर्वाचन आयोग, उपराष्ट्रपति निवास र प्रभुशमशेर निवास) बहादुरशमशेरलाई दिइएको थियो । जितशमशेरबाट खोसिएको लाजिम्पाट दरबार (हालको शंकर होटल) अग्निशमशेरलाई दिलाएका थिए । हरिशमशेरको बागदरबार (हाल महानगरपालिका) साहेबज्यू उपेन्द्रविक्रमका सन्तान रामराजाबाट करकापमा पारेर किनिएको थियो । चेतशमशेरका लागि चेतभवन (हाल मनास्लु होटल) बनाइदिएका थिए ।


राणा महाराजहरूको राज्यरोहण, जन्मोत्सव, पुत्रलाभका तिथिमितिहरूमा बन्दीहरू छुट्थे । त्यो प्रथा आज पनि जारी छ । नयाँ वर्ष, दसैं, विभिन्न दिवस, तिथिमितिहरूमा शासकका मनमौजीमा कैदीहरू छुट्ने क्रम जारी छ । भ्रष्टहरूले तक्मा पाउने क्रम झन्झन् बढेको छ । सिंहदरबार पाठशालाको नयाँनयाँ बफादार चेलाचपेटा उत्पादनको क्रम फस्टाएको छ ।


विदेशमा धन
जंगबहादुरको पालासम्म विदेशमा धन लान सख्त रोकिएको थियो । तर उनका भतिजा वीरशमशेर सत्तामा आउनासाथ राज्यकोषमा चाँदी कटाइ गरेर करोडौं रकम विदेशी बैंकमा जम्मा गरे । चन्द्रशमशेरले त नेपाली तन्नेरीहरूलाई अंग्रेज फौजमा भाडामा लगाएबापत आएको रकमसहित राज्यकोष रित्याएर आफ्ना सन्तानका नाममा विदेशी बैंकमा पैसा जम्मा गरे । यसलाई भीम, जुद्ध, मोहन, देवशमशेरले पनि निरन्तरता दिए । तिनले मात्रै होइन, विदेशी बैंकमा देश चुसेर जम्मा गरेका धन थुपार्ने सिंहदरबार पाठशालाको ज्ञानबाट दीक्षित हुनेहरूको संख्या झन् बढ्दो छ । देशका तन्नेरी विदेशी श्रम बजारमा भाडामा लगाएर आएको पैसा निचोरेर मोट्टाउने चन्द्रशमशेरका अमुक अनुहारहरूको बढोत्तरी छ र सामान्य उपचार गर्न पनि महँगा विदेशी अस्पताल धाउने ‘बेरोजगार’ महाधनाढ्यहरूको दबदबा बढ्दो छ ।


नयाँ महाभारत
आज जनता एकलव्य भएका छन् । शासकहरू द्रोण या छलले योग्य बनाइएका अर्जुन । नयाँ अर्जुनहरू जो उभिएका छन्, द्रोणको छलले सर्वश्रेष्ठ धनुर्धरको रूपमा, तिनीहरू धनुर्वाणको निसाना साँधिरहेछन्, चतुरतापूर्वक बुढीऔंला छिमोलिएका एकलव्यहरूमाथि । जुन दिन एकलव्यहरूले घोषणा गर्नेछन्, म जाली गुरुलाई नाजायज गुरु भेटी चढाउन्नँ र बफादार शिष्य बन्न तयार छैन, त्यहीं दिनबाट सुरु हुनेछ नयाँ महाभारतको नयाँ कथा ।


हीनतर जात, वर्गको भनेर हेयपूर्वक शिष्य बनाउन पनि अस्वीकार गरिएका एकलव्य (जनता) हरू द्रोण (नेता) हरूलाई विश्वासको गुरु दक्षिणा (विश्वास) प्रस्ट माग (परीक्षण) बिना दिन्न भनेर उभिएको दिन हस्तिनापुर (देश) मा नयाँ अर्जुनहरू नायकको रूपमा आउनेछन् र सिंहदरबारको पाठशालामा नयाँ पाठ्यक्रम सुरु हुनेछ ।

Page 18
कोसेली

रजस्वला राजनीति

यतिबेला बढो फुर्सदी छ । घर आँगन बढार्नु र आफूले खाएको थाल माझ्नु बस् । कामको नाममा यिनै दुई हुन् । लुगा मेसिनले धुन्छ । खाना, खाजा बनाउने, धन्धा गर्ने इतरका कामको लन्ठा छैन । किनकि नछुने जो भएकि छु !


प्रश्न उठ्न सक्छ— जाबो यति कामलाई पनि लन्ठा भन्ने ! यहाँ महिलाले गर्ने कामको कुनै मूल्य छैन मानौ यी काम त यतिकै हुन्छन् । त्यो आफैं हुन्छ भनिएका दुई चार काम घट्दा मलाई भने यत्रो समय कसरी व्यवस्थापन गरूँ भन्ने लागेको छ । केही समय लेख्ने, केही समय पढ्ने र केही समय सामाजिक सञ्जाललाई दिने । मैले रुटिन बनाइसकेकी छु । मलाई यो समय अथाह भएको छ ।


अहिले म तराईको गाउँमा बस्छु । खेतीपाती आफूले गरिंदैन । घरमा गाईबस्तु पालेको छैन । त्यसैले घर बाहिरको काम छैन । नत्र घाँस काट्ने, मल बोक्ने, गाईबस्तुको स्याहार–सुसारका काम नगरी धरै थिएन । गए दसैंलगत्तै ‘इम्पावरिङ वुमन फर चेन्ज’ भन्ने विषयमा भएको तीनदिने कार्यशालामा सहभागी भएकी थिएँ । त्यहाँ दिइएको एउटा प्रश्न यस्तो थियो, ‘तपाईंले आफू महिला भएको कति बेला महसुस गर्नुभयो ?’ यो प्रश्नमा ४० जना सहभागी महिलामध्ये लगभग पैंतीस जनाको एउटै जवाफ थियो— पहिलो पटक रजस्वला भएको बेला । प्रायः सबैका लागि यो अनुभूति नकारात्मक थियो । के पहिलो पटक जुँगाको रेखी बसेपछि कुनै किशोरले पनि आफू अर्कै मान्छे भएको, अपहेलित भएको महसुस गर्दो हो ? पक्कै गर्दैन । किनकि पुरुषमा जुँगा पलाउनु जैविक कुरा मात्र हो । महिलाको रजस्वलाचाहिँ किन सामाजिक विषय बन्यो ?


फुर्सद छ भनेर सोचिरहेका बेला अकस्मात मनले भन्यो, ‘यदि यही बेला साथीभाइ या कोही आफन्त घरमा आइपुगे के गर्छेस् ?’ अहो ! यो त मैले बिर्सेकी थिएँ । घरमा असी वर्ष आसपासका सासू–ससुरा हुनुहुन्छ । घरमा म एक्लै भएको बेला मान्छे आए के गर्ने ? एक गिलास चिसो पानी दिने औकात पनि छैन आफ्नो । ‘मलाई छुनु हुँदैन आफैं झिकेर खानू’ भन्न पनि अप्ठ्यारो लाग्छ हामीलाई । हरेक महिना रजस्वलामा चार दिन बार्ने नियम प्रायः सबै हिन्दुको घरमा छ । यही कुरा भन्न हामीलाई अप्ठ्यारो लाग्नुपर्ने किन ? कसले भरिदियो हामीमा यो अप्ठ्यारो ? अरूले बनाइदिएको नियम मानेकोमा सरम पनि मान्नुपर्ने ! मलाई चोकमा गएर चिच्याउन मन लाग्यो ‘आज म नछुने भएकी छु है ।’


खोजें, के भन्दो रैछ त हाम्रो धर्मशास्त्रले ?
हिन्दु, जैन धर्मशास्त्रका कुरा उस्तै रैछन् । उसले अनेकौं नियम बनाएको रहेछ रजस्वला भएकी महिलाका लागि । घरको काम गर्न, कुनै सीपको काम गर्न, हाँस्न, नाच्न, शृंगार गर्न, कसैलाई छुन, दिनमा सुत्न, रुन, धर्मका कुरा गर्न रोक लगाइएको रहेछ । दुइटी रजस्वला भएका स्त्री आपसमा भेट्नु–बोल्नु पनि हुँदैन भन्ने रहेछ । महिलालाई यो समयमा अनेक नाम पनि दिइएको रहेछ । पहिलो दिन चाण्डालनी, दोस्रो दिन ब्रह्मघाती, तेस्रो दिन रजकी वा धोबिनी ।


यी नियममध्ये अहिले हामी के–के पालना गरिरहेका छौँ ? के–के छोडिसक्यौँ ? अनि ती नियम छोडेको कारणले के–के पाप लाग्यो त हामीलाई ? यसो घोत्लिएँ । अहिले मुख्यत दुई कुरा मात्र बार्ने चलन छ । एउटा भान्साको काम र अर्को पूजापाठ । बाँकी नियम तोडेकाले के भयो त हामीलाई ? शास्त्रले नियम उल्लंघन गरे यो–यो हुन्छ पनि भनेको रहेछ । धन्वंतरिका अनुसार दिनमा रजस्वला भएका स्त्री सुते जन्मिने सन्तान सुताहा हुन्छ, गाजल लगायो भने अन्धो सन्तान जन्मिन्छ । रोयो भने विकृत दृष्टि भएको सन्तान जन्मिन्छ । धेरै बोल्यो भने बजुल्लो सन्तान जन्मिन्छ । धेरै हाँस्यो भने कालो, ठूलो, विकृत ओठ भएको सन्तान जन्मिन्छ आदि ।


नियम त तोकिए तर तिनलाई तोड्दा पनि कुफल प्राप्त भएन भने ? यसप्रतिको विश्वास घट्न नदिन छली पण्डितहरूले बनाइदिए पापमोचनको बाटो– ऋषिपञ्चमीको पूजा । अझैसम्म हामी नदीमा गएर भाद्र शुक्लपक्ष पञ्चमीमा आफ्नो पाप पखाल्छौं र केही अनिष्ट नहुनेमा ढुक्क हुन्छौं । सन्तानको रूप, गुण आमाबाबु दुवैबाट आउँछ । उसो भए बाबुका लागि राम्रो सन्तान जन्माउन के–के नियम छन् त शास्त्रमा ? खोजें । हात लाग्यो शून्य । उसो भए त यो सरासर विभेद होइन र ? पितृसत्ताले महिलामाथि मात्र लादेको अंकुश होइन र ?


हुन त आजभोलि रजस्वलाको समयमा महिलालाई अतिरिक्त आराम चाहिने भएकाले श्रमबाट मुक्त गर्न यस्तो नियम बनाइएको भनेर व्याख्या गरेका पनि सुनिन्छ । तर, पापको डर र धर्मको लोभ देखाएर बनाइएका अनेकौं नियमले रजस्वला महिलाका लागि गर्व गर्ने विषय नभई अभिशापजस्तो हुन पुग्यो ।

केही वर्षअघि बौद्ध धर्मसँग निकट रहेको विपस्यना ध्यान गर्न गएकी थिएँ । दसदिने ध्यानको दोस्रो दिन म रजस्वला भएँ । कति उत्साहले गएकी थिएँ बीचमै फर्किनुपर्ला भन्ने चिन्ता लाग्यो । त्यहाँ बोल्न पाइँदैन थियो । विशेष अवस्था आइपरे सेवा गर्नेसँग सानो स्वरमा सोध्नुपर्थ्यो । खाना दिने दिदीलाई रुन्चे स्वरमा सोधें । ‘दिनै नुहाएर कपडा फेर्नू, अरू कुरा पहिलाजस्तै गर्नू । केही हुँदैन । यहाँ त्यस्तो केही बारिंदैन,’ भन्नुभयो । मलाई त यो पनि बुद्धको वाणीभन्दा कम लागेन । मैले झन् विश्वासका साथ ध्यान गर्न थाले । मलाई आफू पूरै हलुङ्गो महसुस भएको थियो । मैले पहिलो पटक रजस्वला भएको बेला आत्मसम्मानको महसुस गरें ।


पहिलो पटक नछुने भएपछि मैले महसुस गरेकी थिएँरू कथित तल्लो जातका मान्छेहरूलाई माथिल्लो जात भनिएकाहरूको व्यवहारले कति आघात पर्दोरहेछ । मलाई आफ्नै परिवार र आफन्तको व्यवहारले वाक्क बनाउँथ्यो, अझै बनाउँछ । यी चार दिन, म कामबाट मात्र होइन मन लागेको खान पाउने, मन लागेको गर्न पाउने अधिकारबाट पनि बन्चित हुन्छु । अझ आफ्नो ओछ्यानबाहेक अन्त बस्न नहुने, खानेकुरा हातमा नदिने परबाटै ठेलेर दिने । यस्तो व्यवहारले मनमा कता कता नमीठो भएर आउँछ । के म साँच्चै पापी हुँ ? झोक चल्छ । सुरुसुरुमा नछुने हुँदा ममिले मेरो थाल, बटुका, गिलास अलग्गै राख्नुहुन्थ्यो । सधैं एउटैमा खान दिनुहुन्थ्यो । म झगडा गर्थें । ममी नभएको बेला मलाई छुट्याइएको थाल–बटुका अरू भाँडाकुँडामा लगेर मिसाइदिन्थे । पछि तेसो गर्न छोड्नुभयो । अब त बुहारी हुँ । त्यसो गर्ने पनि हिम्मत छैन ।


बल्लतल्ल माइतमा आफूअनुकूल परिस्थिति बनाएकी थिएँ । आफैं पानी झिकेर खान्थें । ममीले थाहा पाए गाली त गर्नुहुन्थ्यो तर मैले जितिसकेकी थिएँ । अब फेरि घरमा त्यही कुरा लागू गर्न सक्छु सक्दिनँ ? आफैं दोधार छु । घरीघरी लाग्छ हाम्रो विद्रोही चेत घरभित्र संघर्ष गर्दागर्दै सकिन्छ । कहिले बाहिरी दुनियाँका आम समस्याबारे सोच्न थाल्नु ? अनि बौद्धिक भनिएका पुरुष विश्लेषकहरू सुझाव दिन्छन्, ‘तपाईंहरू आफ्ना गन्थनभन्दा माथि उठ्नुस् ।’ जबकि यति सानो विषयले हाम्रो जीवनमा कति ठूलो असर पारेको छ, तिनलाई अन्दाजसम्म छैन ।


कतिपय किशोरी रजस्वलाको समय स्कुल जानबाट बन्चित छन् । मैले त्यसो भोग्नुपरेन तर स्कुल गए पनि ती चार दिन मेरो ध्यान पढाइमा कहिल्यै हुँदैनथ्यो— कतै फ्रकमा रगत पो लाग्यो कि ? कैयौं पटक यस्तो हुन्थ्यो । बिहान दस बजेदेखि दिउँसो चार बजेसम्म बेन्चको त्यही ठाउँमा चटपट नगरी बसेर सबै साथी घर फर्केपछि अन्तिममा घर गएकी छु धेरैपल्ट । त्यस्तो बेला कसरी पढ्न सकिन्थ्यो ? भोक, तिर्खा, पिसाब सब रोकेर बस्नुपर्थ्यो । समयसमयमा कपडा चेक गर्न जान ट्वाइलेट पनि थिएन स्कुलमा । आज पनि धेरै सरकारी स्कुलमा यही अवस्था छ ।


६ कक्षासम्म फस्ट हुने मेरी साथी सात कक्षादेखि थर्ड, फोर्थ हुन थालेकी थिई । त्यसको एउटा मुख्य कारण यो पनि थियो । त्यसबेला उसलाई बढी पेट दुख्थ्यो । चार दिन ऊ कक्षामा रोएरै बस्थी । थुप्रै महिलाहरू अहिले पनि रजस्वलालाई त्यही रूपमा ‘पाप’ मानेर अपनाइरहेका छन् । पढे–लेखेका महिलाले पनि आफ्नो शरीरसँग जोडिएको यति जटिल विषयलाई बुझ्ने कोसिस गरेका छैनन् । बुझ्न खोज्ने महिला पनि अविश्वासका बाबजुद यसलाई अपनाउन बाध्य छौं ।


मान्छेहरू भन्छन्— पढे–लेखेका महिलाले नै यस्ता परम्परागत कुरालाई त्याग्न नसकेकाले महिलाको जीवनमाथि उठ्न सकेको छैन । येस्सो हेर्दा हो पनि । तर गहिरिएर हेरौं न ! स्कुलदेखि विश्वविद्यालयसम्मको शिक्षामा कहाँचाहिँ लेखियो, रजस्वला भनेको प्राकृतिक कुरा हो न कि धार्मिक भनेर । यो पापको कारण भएको होइन, उनीहरू अपवित्र भएर होइन, आवश्यक परेर आराम दिइएको हो भनेर कहाँ पढाइयो ?


जो बध्यताले यो नियम मानिरहेका छौं, तिनलाई महिलाको पक्षमा वकालत गर्ने पुरुषहरूले कसरी सहयोग गरिरहेका छन् त ? पक्कै पनि यस्ता नियम मान्न अह्राउने, सिकाउने भनेका महिला नै हुन्छन् । माइतमा आमा, हजुरआमा र घरमा सासू । तर यसलाई नमान्ने हिम्मत गर्न खोज्ने महिलालाई उसका बुबा, दाजुभाइ या श्रीमान्को भरपूर साथ चाहिन्छ । यो नियमलाई निरन्तरता दिनमा मूकदर्शक बनेर पुरुषहरूले साथ दिइरहेका छन् । यो महिलाले नै महिलालाई लगाएको नियम हो भनेर गैरजिम्मेवार तरिकाले पन्छिन उनीहरूलाई छुट छैन । किनकि यो कुप्रथाको सुरुआत गर्ने पुरुष नै हुन् । महिलालाई रजस्वला पापका कारण हुन्छ, त्यही भएर तिमीहरू हामीभन्दा कमजोर छौ, हामीभन्दा साना हौ भन्ने राजनीति गरेको प्रस्ट हुन्छ । महिलाको मनोविज्ञानलाई दुर्बल बनाएर आफू सधैं पहिलो दर्जाको भइराख्ने पुरुषको रणनीतिमा रजस्वलाका अनेक नियमले सहयोगी भूमिका खेलेको पाइन्छ । यसलाई बुझेर व्यावहारिक परिवर्तनका लागि महिला र पुरुष दुवैले पहलकदमी लिन अब ढिला गर्नु हुँदैन ।

दीपा दहाल
@deepadahal10

कोसेली

हरेक वर्ष पदयात्रा

- कान्तिपुर संवाददाता

डिम्बाशयको क्यान्सर निको पारेकी ४८ वर्षीया अभिनेत्री मनीषा कोइराला चैत अन्तिम साता सगरमाथा आधार शिविरसम्मको पदयात्रामा थिइन् । नयाँ वर्षको दिन ५३ सय ८० मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरमा पदैल पुगेर १० औं दिनमा सोमबार हेलिकप्टरमार्फत काठमाडौं ओर्लिएकी उनले केटाकेटीदेखि नै आफूले सगरमाथा आधारशिविर जान चाहेको बताइन् । ॅनेपाल भम्रण वर्ष २०२०’ को विश्वभर प्रचार गर्ने उद्देश्यले उनका साथमा पर्यटन बोर्डले ॅगाड्रेन अफ हिमालय’ डकुमेन्ट्री बनाउने टिम पनि पठाएको थियो ।

सगरमाथा आधार शिविरको पदयात्रा कसरी जुर्‍यो ?
बलिउडमा मेरा साथीहरू सगरमाथा पुगेर फर्केपछि त्यहाँको अनुभव र व्याख्या सुनाइरहन्थे । मलाई उनीहरूका कुराले बिझाइरहन्थ्यो । आफ्नै मातृभूमिमा रहेको हिमालको फेदीसम्म पुग्न नसकेकोमा ग्लानि भइरहन्थ्यो । जहाज चढेर काठमाडौं आउँदा देखिने हिमालले लोभ्याउँथ्यो । यस पटक मसँग कलेज पढेका तीन जना सहपाठीहरूले ‘लौ हिँड सगरमाथासम्म पुगेर आऊँ’ भनेपछि यात्रा जुरेको हो ।

केटाकेटी उमेरदेखि सगरमाथा जाने रहर कसरी जाग्यो ?
पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले बीपी बा (हजुरबुबा विश्वेश्वरप्रसाद कोइराला) लाई एउटा टेन्ट उपहार दिएका थिए । त्यो टेन्ट बनारसमा छँदा हामीले घरमा राखेका थियौं । त्यतिबेलादेखि नै म कुनै दिन सगरमाथा पुगेर हेर्नेछुजस्तो लाग्थ्यो ।

यसअघि कहिल्यै पदयात्रामा जानुभएको थियो ?
थिइनँ । यो नै मेरो पहिलो पदयात्रा हो । सगरमाथा आधारशिविर जानुअघि काठमाडौं आसपासका पहाडमा अभ्यास गरेकी थिएँ । अबचाहिँ म हरेक वर्ष पदयात्रामा निस्किनेछु । सगरमाथा पनि फेरि जाने रहर छ । अन्नपूर्ण ट्रेकमा पनि जानेछु । हिमाल नै चढ्नेचाहिँ योजना छैन ।

यो यात्राको खास कुरा के रह्यो ?
मैले सेतो गुरास देखेकी थिइनँ, यो यात्रामा देखें । अर्को कुरा के थाहा भयो भने, हामी सहरमा याकको चीज भन्दै खान्छौं । यसपालि थाहा भयो, खासमा याक त भाले हुनेरहेछ (हाँस्दै), चिज त नाकको पो हुने रहेछ !


हामी पाँच जना लुक्लाबाट हिँडेका थियौं । लुक्लाबाट फाक्दिन, मोन्जो, नाम्चे, तेङबोचे, पाङबोचे, फेरिचे, गारकसेप हुँदै सगरमाथा आधारशिविरसम्म हिंड्दै पुगियो । हरेक दिन कम्तीमा ७/८ घण्टा हिंड्यौं । यात्रा अवधिभर ९० प्रतिशत घाम लाग्यो । यसले गर्दा हामीलाई सजिलो भइदियो । सल्लाघारी जंगलबीचबाट शान्त बाटोमा हिँड्दाको आनन्द म वर्णन गर्न सक्दिनँ । सगरमाथा आधारशिविरमा पुगेको भोलिपल्ट बिहानै उठेर हेर्दा चारैतिर देखिएका अद्भुत हिमालको दृश्य मेरो आँखैमा छ । माइनस २५ डिग्री । मलाई लाग्यो, यी हिमाल वर्षौंदेखि यहाँ उभिएका छन् । उनीहरूका अघि हाम्रो जीवन त समयको एउटा सानो अंश मात्र हो ।

तपाईंलाई कुनै स्वास्थ्य समस्या त भएन ?
मेरो ‘मेडिकल हिस्ट्री’ भएकाले जीउले साथ दिँदैन कि जस्तो लागेको थियो । उमेर पनि भइसकेको तर हिँड्दै गएपछि रमाउँदै गएँ । दृश्यहरूले तान्दै लगे । प्रकृति अनि हिमाली जनजीवन देख्दा मैले यो देशको नागरिक हुनुमा गर्व गरें । हरेक नेपालीले जीवनकालमा एक पटक हिमालसम्मको यात्रा गर्नुपर्ने रहेछ । सगरमाथाले जागरण गर्ने रहेछ ।


प्रस्तुति : सुरज कुँवर

Page 19
कोसेली

द्रौपदीको महाभारत !

- सरला गौतम

चकमन्न छ सहर । नेपथ्यमा गुन्जन्छ आवाज ‘महा...भारत’ । नारायणगढ बजारका मानिसहरू ताँती लागेर टेलिभिजन पसलमा उभिन्छन् । खचाखच । कथाको उतारचढाव हेरेर धड्कन्छ मानिसहरूको दिल । दिलको धड्कन र टीभीको आवाजको ककटेल । नशामा लठ्ठ हुन्छ एउटा समय ।


भाग्यमानी कोही भए अगाडि उभिन पायो । नत्र टीभी पसलको थर्ड क्लासमै चित्त बुझायो । कुहिनोले कुहिनो पेल्यो । ठेल्यो र आँखा टीभीमा टाँस्यो । यति धेरै आँखाहरू एकै दृश्यमा टाँसिएको दुर्लभ नजारा । सारा सहर एउटै आँगन बनेको पल । त्यो समय सिनेमा बनेर यतिबेला मेरो मनको स्क्रिनमा चलिरहेछ ।


म सम्झिरहेछु ती साँझहरू पनि, बुबाको लयात्मक आवाजमा महाभारतको श्लोक सुनिरहेको । ‘आज त कोही रुन पाउँदैन, नत्र म पढ्दिनँ,’ भन्दै लगाएको घुर्की । ‘हुन्छ रुन्नौं’ भनेर वरिपरि बसेर सुनेका कथा । सुन्न थालेपछि मनमा छाएको बादल । नथामिएर भिजेका आँखा । बाहुलाले पुछेको आँसु ।


यस्तो बेला बुबाले श्लोकको उल्था गर्नुहुँदैनथ्यो । पिर परेकै बेला पनि झोंक चल्थ्यो । अड्कलेर वाचन हुने कथाको उतारचढावले तलतलको सीमा नाघ्थ्यो । ‘आज यति’ भनेपछि बुबाले एक अक्षर नपढ्ने । मनमा ईख पालेर पूरै महाभारत सरररर आफैं पढेको कल्पना गर्थें । वर्षायामको स्कुल बिदामा होमवर्कलाई साइड लगाएर लुकीलुकी महाभारत पढेर पनि बसें । छड्केमा परेपछि त्यो पनि बन्द भयो ।


‘अभिमन्युको चक्रव्युहको कथा हो आज’ कथाको शीर्षक सुन्नासाथ आफ्नो आँखामा झरी पर्न थाल्थ्यो । डर पनि लाग्ने, सुन्न मन पनि लाग्ने, कुरुक्षेत्रको कथा । टीभीको दृश्यभन्दा बुबाले पढ्दा दिमागमा सल्बलाएको दृश्य अझै प्रगाढ छ । ‘महाभारत’ हेर्न र सुन्न दुवै पाएकोमा सम्झेरै दंग हुन्छु । व्यासले कहेको ‘महाभारत’ सम्झँदै थिएँ । द्रौपदीले बताएको ‘महाभारत’ को सार हातमा पर्‍यो । चित्रा बेनर्जीले लखेको ‘द प्यालेस अफ इलुजन’ भन्ने पुस्तकमा ।


पाञ्चाल राज्यका राजा द्रुपदकी छोरी द्रौपदी । ऐश्वर्य र वीरताका लागि प्रख्यात राजाकी तेजस्वी छोरी । छोरा धृष्टधुम्नलाई आफ्नो समयको महान् योद्धा बनाउन लागिपर्छन् द्रुपद राजा । छोरी पाञ्चालीलाई भने भविष्यको कुनै शक्तिशाली राजाकी कुशल रानी बनाउन पूरै दरबारको माहोल लागिपर्छ ।


कौतूक स्वभावकी द्रौपदी भाइसँग भलाकुसारी गरिरहन्छिन् । उसले सिकेको कुरा थाहा पाउन खोजिरहन्छिन् । महिलाका लागि सिकाइने कुनै पनि विशेष तालिममा उनको रस बस्दैन । भाइले सम्झाउँछन्, ‘तिमी आफ्नो दुनियामा मात्र ध्यान देऊ । बाँकी संसार मेरो जिम्मा हो, तिम्रो रक्षा पनि ।’ आफ्ना लािग छुट्याइएको सानो संसार द्रौपदीलाई चित्त बुझ्दैन । उनको व्यक्तित्वको आभा नै अलग हुन्छ । ‘पुरुषहरू युद्धका लागि किन तयार गरिन्छन् । किन उनीहरू कसैलाई मार्नुमा आफ्नो विजय देख्छन् । यसैको वरिपरि आफ्नो गरिमा र महिमा खोज्छन् । योभन्दा पर संसारमा केही छ । कसैको हानि नगरीकनै पनि मानिस लोकप्रिय र प्रसिद्ध हुन सक्छ ।’


आफ्नो दर्शन पुरुषहरूलाई सिकाउने मन हुन्छ द्रौपदीको । बेलाबेला दरबारमा आइरहने कृष्ण र उनका आफ्नै भाइ पाञ्चालीका आँखिझ्याल हुन् । उनीहरूलाई आफ्ना कुरा भन्छिन् । यी दुईबाट नै बाँकी संसार चियाउन खोज्छिन् । प्रश्न गर्छिन् । तर्क पेस गर्छिन् । जे भन्यो त्यही कुरामा हो भनेर टाउको हल्लाउँदिनन् ।


व्यास ऋषिले कुनै दिन द्रौपदीलाई युगकै एक प्रसिद्ध रानी हुन्छौं भन्छन् । द्रौपदी भन्छिन् ‘पुरुषका लागि साम, दाम, दण्ड, भेदले कमाएको नाम ठूलो होला । हाम्रा लागि सुख ठूलो हो ।’ छोरीमान्छेका लागि तयार गरिने तालिम र भेलामा उनको मन बस्दैन । उनको मौलिक स्वभावकै कारण दरबारका रानीहरूले अर्घेलो व्यवहार गरिदिन्छन् । द्रौपदीको चमकले बाँकी महिलामा आरिसको बादल मडारिन्छ । बिनाकारण उनी एक्लो पारिन्छिन् । एकांकी जीवन चलिरहेकै बेला एक दिन उनकी दिदी शिखण्डी आइपुग्छिन् । सात वर्षमा दरबारबाट निकाला गरिएकी शिखण्डी । शरीर पुरुषको र आत्मा महिलाको हुन्छ उनको । पहिलो जन्ममा भीष्मले गरेको अपमानको बदला लिन उनको यो दोस्रो जन्म हुन्छ ।


पहिलो जन्ममा अम्बा नामकी राजकुमारी शिखण्डीको भीष्मकै कारण स्यंवर भंग भएको हुन्छ र आजीवन बिहा हुँदैन । शिखण्डीको जीवनको एक मात्र लक्ष्य भीष्मको वध गर्नु हुन्छ । द्रौपदीसँग शिखण्डी भन्छिन्, ‘एकपछि अर्को मानिसले मलाई अस्वीकार गरेपछि लाग्यो अब म केही रहिनँ । एउटा सिंगो पहाड टुटेजस्तो भयो । तर बिस्तारै म उठें । कसैसँग मैले बिहा गरिनँ । तर जीवन रोकिएन । यसको आनन्द लिन केहीले रोकेन । एउटा महिलाको जीवन महाशक्तिशाली वृक्षको जरालाई माथ गर्ने हुन्छ । जुन पानी र माटोबिना पनि जीवन्त रहन्छ ।’


अन्तस्करणमा भएको आफ्नो शक्तिलाई पूरै उजागर गरेकी शिखण्डीले थप्छिन्, ‘पुरुषको शक्ति भनेको साँढेको उन्मत्त तुजुकजस्तै हो । महिलाको शक्ति भनेको गहिरो र एकनासको धारमा रहने सागर सरी हो । जबसम्म तिमी यसको सम्पूर्ण प्रयोग गर्दैनौ तिमीले चाहेको कुरा पाउन सक्दिनौं ।’ निश्चित ढाँचामा दरबारमा हुर्काइँदै गरेको हुन्छ उनलाई । शिखण्डीको शक्ति र स्वतन्त्रताले द्रौपदीलाई कायल पार्छ ।


पछि पाण्डवसँग बिहा भएपछि पनि भीमकी पहिलो श्रीमती हिडिम्बाको तेजसँग पनि उस्तै लोभिन्छिन् । जंगलमा रहेर आफ्ना भाइभारदारको रेखदेख गरेकी हुन्छिन् हिडिम्बा । साहसी र स्वच्छन्द । भीमको द्रौपदीसँग भएको बिहेले उनलाई असर गर्दैन । न त पाँच पाण्डवको इन्द्रप्रस्थ दरबारको वैभवले । यो अभूतपूर्व आत्मनिर्भरताले द्रोपदीलाई मोहित तुल्याउँछ । उनी महिलाको शक्ति कसैको नियम र वैभवमा कैद हुनुमा देख्दिनन् । नियमलाई चुनौती दिन सक्ने सौर्य ऊर्जा देख्छिन् ।


द्रौपदीको स्वयंवरको चर्चा चलिरहेको बखत गान्धारीको प्रसंग उठ्छ । श्रीमान् धृतराष्ट्र आँखा नदेख्ने भएको कारण गान्धारीले पनि आँखामा पट्टी लगाएको कुरा थाहा पाएर उनी अचम्म मान्छिन् । आफ्नी धाईआमासँग भन्छिन्, ‘गान्धारीको यो निर्णय बुद्धिमता होइन । म भएको भए आफ्नो आँखाले श्रीमान्लाई संसार चिनाउने थिएँ ।’ द्रौपदीको स्यंवरपछि अर्जुनले कुन्तीकहाँ पुर्‍याउँछन् । उनले पाँच भाइले भाग लाउनुपर्ने अडान लिन्छिन् । उनीहरू सबै द्रुपद राजाकहाँ पुग्छन् । सवाल–जवाफ हुन्छ । द्रुपद भन्छन्, ‘मेरी छोरी पाँच जनाको श्रीमती हुन असम्भव छ । यदि पाञ्चाली माइत फर्किन् भने उनले आत्मदाह गर्नुपर्ने हुन्छ । परिवारको मर्यादाका लागि ।’ आफ्नो जीवनभन्दा कुलको मर्यादा ठूलो भएको देख्दा द्रौपदी झसंग हुन्छिन् ।


उनले यसो भन्दा अर्जुन बोल्दैनन् । उनको भाइ धृष्टधुम्नले विरोध गर्छन् । उनको कुराको पनि सुनुवाइ हुँदैन । द्रौपदीको मनले भन्छ, ‘कस्तो अचम्म म बाँच्ने र मर्ने पनि मैले निर्णय गर्न नपाउने । यो जुन आत्मदाहको कुरा छ त्यो मेरो सोचभन्दा निकै पर छ । बेग्लै छन् मेरा सपनाहरू ।’ पछि व्यास ऋषिको सल्लाहमा कुरो टुंगो लाग्छ । तर आफ्नो जीवनको निर्णय अरूले गरेको द्रौपदीलाई चित्त बुझ्दैन । पाँच पाण्डवसँग उनको बिहा कुन्तीको हठ थियो । द्रौपदीको चाहना थिएन । कालान्तरमा उनलाई चिनाउने यही मुख्य चिनारी बन्यो । जुन उनको तेजस्वी व्यक्तित्वको अघि गौण कुरा हो ।


अर्जुनले कुनै बेला द्रुपद राजालाई हराएका हुन्छन् । आफूलाई हराउने अर्को वीर योद्धासँग पुरुषको खास आकर्षण टाँसिन्छ । उनी आफ्नी छोरी पाञ्चाली, अर्जुनलाई दिन चाहन्छन् । तर अर्जुनलाई सीधा स्वयंवरको निम्ता दिन उनको अहंकारले रोक्छ । यही कारण चुनौतीपूर्ण समारोहको आयोजना गर्छन् । पिताको अहंको आलोचना गर्छिन् पाञ्चालीले । अर्जुन उनका पिताका रोजाइ थिए । द्रौपदीका रोजाइ थिए कर्ण । कुलकै लागि उनले मन परेको मानिसको अपमान गर्छिन् । यही कारण कर्ण स्वयंवरमा पछि हट्छन् । आफ्नो प्रेमी आजन्म उनका शत्रु बन्छन् । अन्तिम बेलासम्म पनि गलत निर्णय लिएकोमा द्रौपदीले पछुतो मानिरहन्छिन् । पिता, प्रेमी, श्रीमान्हरू र उनका भाइभारदारहरूको अहंको आगोमा द्रौपदीको जीवनले परीक्षा दिइरहन्छ । पुरुष अहंकार नै युद्धको बीज हो भन्ने कुरामा द्रौपदी सुरुदेखि प्रस्ट छन् ।

तार्किक
युधिष्ठिरले जुवामा हारेपछि द्रौपदीलाई दुस्शासनले घिसार्दै सभामा ल्याइपुर्‍याउँछन् । उनले भीष्मको आँखामा हेरेर प्रश्न गर्छिन्, ‘एउटा लोग्नेले श्रीमतीलाई कसरी दाउमा लगाउन पाउँछ ? यदि लोग्नेको सम्पत्ति श्रीमती हो भने पनि हारिसकेको दासले एक स्वतन्त्र मानिसलाई दाउमा लाउन कसरी पाउँछ ?’


युधिष्ठिर जुवा हारेर दास भइसके पनि द्रौपदी त रानी नै थिइन् । भीष्मले शिर निहुराउँछन् । द्रौपदी भन्छिन्— शिर झुकाउनु समाधान होइन । उनी थप भन्छिन्— भीष्म आफैंमा एक प्रश्न हुन्, यिनले मेरो प्रश्नको के उत्तर दिन सक्छन् !


सभामा सन्नाटा छाउँछ । अपमानको आलो घाउ लिएर सभाका अग्रज र विशिष्टको सामुन्ने उनी प्रश्नका पोका फुकाउँछिन् । निहुरिएका शिर मात्र देख्छिन् । निरीह र निर्लज्ज सभासँग उनको मोहभंग हुन्छ । भत्किन्छ भ्रमको एउटा ठूलो पहाड । अब उनी प्रश्न पनि आफैं हुन्, उत्तर पनि । द्रौपदी कसैकी स्वास्नी, कुलकी वधूबाट अब युगको एक शक्तिशाली महिलामा परिणत हुन्छिन् । श्रीमान्हरूलाई दासताबाट मुक्त गर्छिन् । राज्य फिर्ताको अफरलाई सीधा लल्कार्छिन् । लालचरहित प्रज्ञा र तर्कले उनी धपक्कै बल्छिन् । अपमानको आगोमा खारिएर निस्केको नम्बरी सुनजस्तो !


यो घटनाअघि उनी पाँच पतिलाई आफ्नो रक्षक ठान्थिन् । आफ्नो कुलका आदरणीयहरू न्याय र इमानका पहरेदार हुन् भन्ने लाग्थ्यो । पत्नीको इज्जतभन्दा जुवाको नियम ठूलो मान्ने पतिहरू एकै पलमा उनको नजरमा निरीह हुन्छन् । उस्तै हुती हराएका मानिस लाग्छन्, भीष्म, द्रोण र धृतराष्ट्र । उनीभित्र दबेर रहेको शक्ति, बादल चिरेर निक्लेको सूर्यझैं तेजिलो भएर निस्कन्छ । अब उनी आफ्नो रक्षाका लागि कसैसँग हारगुहार गर्ने छैनन् । उनी निर्देशक भइन्, आफ्नै नियमको । कारिन्दा बने उनका पतिहरू । निर्णायक शक्ति भइन् द्रौपदी ।


भीष्मप्रति आफ्ना पतिहरूको अति आसक्तिलाई पनि उनी प्रश्न गर्छिन्, ‘जो मानिसले आफ्नो चाहनालाई दमन गर्ने अप्राकृतिक काम गर्‍यो । जसले मानवीयताभन्दा नियमलाई सधैं माथि राख्यो, उसको कसरी भर पर्ने ? हरदम महानताका लागि मरिहत्ते गर्ने मानिसले अरूको भूलप्रति करुणा देखाउँछ भन्ने के ग्यारेन्टी ? यस्ता मानिसले कुनै पनि बखत आफ्नो साथ छोड्छन् ।’


व्यासले उनलाई कुरुक्षेत्रको लडाइँ प्रत्यक्ष हेर्ने दूरविन दिए । वीरताको परिभाषामा परै राखिएका महिलाको हातमा युद्ध हेर्ने दूरविन किन ? व्यास भन्छन्, ‘तिमी असाधारण मानिस हौ । यो युगको बयान गर्न सक्ने एक साक्षी ।’ अभिमन्युका छोरा परीक्षितको भविष्यको खतराको जानकारी पनि व्यासले द्रौपदीलाई गराउँछन् र भन्छन्, ‘तिमी जति बहादुर तिम्रा श्रीमान्हरू छैनन् । यो कुरा सहन सक्नेछैनन् र गोप्य राख्न पनि सक्दैनन् ।’


युद्धविरोधी द्रौपदी कालान्तरमा युद्धको कारक भनेर चिनिइन्, जुन उनीमाथिको अन्याय हो । युद्धको कारक दुर्योधनको हठ, भीष्म, द्रोणलगायतका मानिसको नियमप्रतिको आसक्ति हो । युधिष्ठिर जो सत्यका प्रतीक भनेर चिनिए, एक स्वतन्त्र मानिसलाई दाउमा राख्नु केको सत्य ? युधिष्ठिरले द्रौपदीलाई वस्तुसरह सम्पत्ति मानी जुवामा लाउनु पाप थियो । दुस्शासनले उनको अपमान गर्दा निर्लज्ज भएर मौनता साधेका सभाका सबै मानिस युद्धका कारक हुन् । जब महिलाको आत्मसम्मान, कुनै मानवीय कानुन र नियमभन्दा तल पारिन्छ तब युद्ध हुन्छ । युद्धको कारण द्रौपदी होइनन्, त्यसको कारक पुरातन सोच र त्यसका पालकहरू हुन् ।


व्यासले दिएको दूरविन लिएर नजिकको पहाडमा उक्लन्छिन् द्रौपदी । कौरब सेना हाँक्दै गडगड रथमा सवार हुन्छन् भीष्म । पाण्डवको सेना लिएर खडा हुन्छन् युधिष्ठिर । भीष्म जसले सदा रक्षामात्र गरे पाण्डवको । उनै छन्, धनु लिएर खडा । दुर्योधनको हठलाई परास्त गर्न नसकेको भीष्मको चट्टानी अडान । श्रीमती दाउमा लाउने युधिष्ठिरको सत्य नीतिको संकीर्णता र न्यायको विशालता नबुझेका मानिसहरू । जुवाको नियमले हराइएका दुई महारथी !


द्रौपदीले बताएको ‘महाभारत’ मा यस्तै देखिन्छ सत्यको रङ । यो पुरातन दृष्टिकोण चिरेर उभिएको एक शक्तिशाली दृष्टि हो । कुनै राजाको वीरताको बखान गर्दा ऊ कतिवटा श्रीमतीको श्रीमान् भनिंदैन । उसका अन्य गुणहरू मूल बनेर आउँछन् । द्रोपदीको नामसँगै किन आउँदैनन् उनका गुणहरू प्रकाशमा । किन गरिन्छ उनको यौनिकताको चर्चा मात्र ? समयले यसको हिसाब दिनेछ ।


प्रेम र प्रज्ञाको संगम द्रौपदीको मनमा कर्णप्रति तीव्र आकर्षण छ । इन्द्रप्रस्थमा कर्ण आउँदा सबैभन्दा सुन्दर कोठा उनकै लागि राखिदिन्छिन् । उनकै कोठाबाट देखिन्छ सुन्दर नजारा । तर, कर्णले वास्तै गर्दैनन्, सामान्य कोठामा गएर बसिदिन्छन् । बेलाबेला कुहिनो ठोकिने गरी भेट हुँदा पनि औपचारिकता मात्र देखाउँछन् । स्यंवरको दिन कर्णको आँखामा देखिएको चाहनाको त्यो चमक खै कता हरायो । कर्णलाई ‘सुतपुत्र’ भनेर गरेको अपमानको भारी द्रौपदीका लागि महँगो पर्छ । जीवनभर । कर्णको नजर आफूभरि सोहर्न छानेर लगाएको सारी, त्यो रूप, त्यो सौन्दर्यको लालिमा । केहीले नछोएझैं गरी तर्केर हिँड्छन् कर्ण । द्रौपदी उनको नजर चोर्न लागिपरेकै हुन्छिन् । यस्तो एक पटक होइन, अनेक पटक हुन्छ ।


दुर्योधनकी नवविवाहित दुलही पनि कर्णको प्रशंसक हुन्छिन् । कर्णले दुर्योधनको श्रीमतीको तारिफ गर्ने गरेको थाहा पाउँछिन् द्रौपदी । मीठो ईर्ष्या जाग्छ । उनले मनमनै शास्त्रको एउटा वाक्य याद गर्छिन्, ‘परपुरुषसँग महिला मनमनै आकर्षित भइन् भने पनि त्यो सम्बन्धसरह नै पाप मानिन्छ ।’ शास्त्र र मन कसले भनेको सुन्ने ? द्रोपदीले मनमा चलिरहेको आकर्षणको मन्द बतास हेर्छिन् । प्रकृति र नीतिबीच विश्लेषण गर्न उनी लाग्दिनन् । यो पाप पुरुषलाई किन नलाग्ने ? किशोरीमै उनको मनले यो प्रश्न संसारलाई गरिसकेको थियो ।


कर्णलाई मोहित पार्ने मन हुन्छ उनको । दुर्योधनको सभामा उनी सादा साडीमा जान्छिन् । तर अचम्म ! सबै नजर उनैतिर सोहोरिन्छ । उस्तै सादगी सेतो पोसाकमा कर्ण आउँछन् । दिव्यकायाकी रानी द्रौपदी । अद्भुत वीरता र रूपका धनी कर्ण । नजिकै पुग्छन् । झन्डै आमने–सामने । आँखा जुधाजुध हुनै लाग्दा बीचमा आउँछिन कुन्ती । स्वयंवरको दिनमा गरेको अपमानको क्षति न्यूनीकरण गर्ने मुडमा थिइन् द्रौपदी । कर्णको आँखामा माया र चाहनाको त्यो सुनौलो प्रकाश फिर्ता ल्याउने सुरमा थिइन् । अफसोस ! यो मौका पनि चुक्यो । कर्णको आँखामा द्रौपदीले त्यो चमक फेरि कहिल्यै देखिनन् ।


पाँच पति हुँदा पनि उनको मनमा पूर्ण तृप्ति छैन । कर्ण एक जनाको सम्झनाले मात्र कम्पन हुन्छ उनको मन । त्यो परकम्म पाँचमध्ये कसैसँग पनि हुँदैन । उनी पाँचै जनालाई निकै माया गर्छिन् । हर सुख–दुःखमा सँगै छन् । कठोर वनबासमा पनि, इन्द्रप्रस्थको अलौकिक सुखमा पनि । कर्तव्य र माया पूरापूर छ । तर एउटी आइमाईको मनमा आफ्नो प्रेमी सम्झेर आउने तरंग आउँदैन उनीमा ।


कृष्णसँगको माया भने अपरिभाषित छ । कृष्ण द्रौपदीलाई ‘कृष्णा’ भनेर बोलाउँछन् । हरआपतमा उभिने उनको ‘प्लेटोनिक लभर’ हुन् कृष्ण । भौतिक चाहभन्दा निकै परको सुख छ यो प्रेममा । विभक्त होइन सम्पूर्ण । कर्णप्रतिको उनको आकर्षण भने पानीको छाया देखेर पछ्याइरहेको मरुभूमिको यात्रीजस्तो छ । यो अवस्थासँग उनी आाफैं छक्क पर्छिन् । पाँचवटा पति भएकी आइमाईको मनमा कस्तो शून्यता ! बुझिनसक्नु प्रेमको जादुमा उनी रनभुल्ल पर्छिन् । के पाप के धर्म ! मनको धर्म नै प्रेम हो ।
लडाइँका दिनमा व्यासले दिएको दूरविन लिएर पहाडबाट रणभूमि चियाउँदा उनका आँखाले त्यहाँ पनि कर्ण खोजिरहन्छ । कुनै नियम नसुन्ने मनको कानुनसँग उनी हार खान्छिन् । कर्णको प्राण जाँदा झन्डै महाप्रलय हुन्छ । द्रौपदी खिन्न हुन्छिन् । उनको हृदयको प्रेम उनकै पतिबाट मारिन्छन् । द्रौपदीको मनमा भएको अथाह प्रेमको झिल्को देख्नै नपाई ब्रह्मलिन भए कर्ण । अहो जिन्दगी !


जीवनको अन्तिम घडीमा पनि को घुम्छ उनको मनमा हेर्न थाल्छिन् । उही कर्ण । स्वर्गतिरको महायाक्राको त्रममा द्रौपदी थाक्छिन् । अघि हिँडेका भीम पछि फर्कन खोज्छन् । युधिष्ठिरले रोक्छन् । ‘महाप्रस्थानको समयमा पछि फर्कनु हुँदैन,’ भन्छन् । द्रौपदीको मनमा संवाद चल्छ, ‘कर्ण भएको भए स्वर्ग जाने यो नियम भंग गर्थे होला । त्यागेर स्वर्ग पनि मेरो हात समाउन आइपुग्थे होला ।’


हृदयमा लुकेको प्रेम अन्तिम घडीमा पनि जागेर उठ्छ । हामीले आफ्नो मनलाई कसैसँग प्रेम गर्न अह्राउन सक्दैनौं । यो भागेर सुटुक्क जहाँ गयो गयो । बस उसको पछि लाग्नुबाहेक अर्को उपाय छैन । बाँकी नीति नियम त केवल भन्ने कुरा न हुन् । नियमहरूकी नियम द्रौपदी, प्रेमरूपी सत्यको यही उज्यालोमा प्रदीप्त हुन्छिन् । अन्तिम घडीमा ।


प्रेमीको सवालमा मात्र होइन अन्य सम्बन्धमा द्रौपदीको हृदय खुला र उदार छ । अर्जुनको दोस्रो बिहे कृष्णकी बहिनी शुभद्रासँग हुन्छ । सुरुमा द्रौपदीमा ईर्ष्याको भावना हुन्छ नै । बिस्तारै शुभद्राको चुम्बकीय व्यक्तित्वले उनलाई तान्दै लान्छ । उनको मोहनी हाँसोमा द्रौपदीले कृष्णको झलक भेट्छिन् । मानिसले बाँध्न खोजेको साँघुरो परिधि नाघेर आफ्नै आकारमा फैलिन्छ मानिसको हृदयको प्रेम । द्रौपदीका फैलिएको मायाले यही भनेझैं लाग्छ । शुभद्राका छोरा अभिमन्युप्रति उनको प्रेम आफ्ना सन्तानभन्दा बढी हुन्छ । चक्रव्युहमा परेर अभिमन्युको मृत्यु हुँदा द्रौपदीको विह्वलता हृदय हल्लाउनेछ । अभिमन्युको छोरा परीक्षितप्रतिको माया झन् गाढा छ ।


विराट राज्यमा गुप्तबासको समयमा किचकले उनलाई गिद्धेनजर लगाउँछ । रानीको भाइले शक्तिको तुजुक देखाउँछ । ठानेको हुन्छ, यो आइमाईको रक्षा गर्ने कोही छैन । दासीको भेषमा ती द्रौपदी भएको उसलाई थाहा थिएन । विराट राजासँग सीधा आँखा जुधाएर कुरा गर्छिन्, महिलाको इज्जतको अर्थ सोध्छिन् । शक्तिशाली मानिसले आम महिलालाई गर्ने व्यवहार पत्तो पाएर उनको मन द्रवित हुन्छ ।

महाप्रस्थान
जीवनको अन्तिम घडीमा उनी आफ्ना श्रीमान्हरूसँगै महायात्रामा निस्कन्छिन् । त्यत्रो युद्ध गरेर जितेको राज्य र दरबारको वैभव एक निमेषमा छोड्छिन् । सबैभन्दा प्यारा उनका नाति परीक्षितको मायाले रोक्दैन । जीवनमा आफू कसैका लागि पनि महत्त्वपूर्ण छैन भन्ने थाहा हुनु एक दिव्यबोध हो । एउटा अपूर्व स्वतन्त्रता महसुस गर्छिन् ।


महाप्रस्थानका अन्तिम घडीहरूमा उनको मनमा तर्कना चल्छन् । के उनले चाहे जसरी बाँचिन् त ? सारा वैभव, सौन्दर्य र पाँच पतिको प्रेममा के उनी तृप्त थिइन् त ? शुभद्रालाई देखाउन पुगेको थिएन उनको हृदयको प्रेम । अभिमन्युलाई सिकाउन पुगेको थिएन भवितब्यमा पर्न सक्ने खतराको संकेत । थिए कतिकति गर्न बाँकी कुरा । युग हाँक्ने एउटा नारीको वशमा पनि थिएन यो क्षणभंगुर चोला । बाँच्न नपुग्दै सकिन्छ जिन्दगी । जीवन एक अतृप्त चाहनाहरूकै संगम हो ।


जीवनका तृप्त र सुखी क्षण द्रौपदी सोची हेर्छिन् । हिमालयमा पाइला चाल्दै गरेको बखत । कृष्णले उनलाई दिएको नबिर्सने केही पलहरू । जहाँ उनलाई माग्न मन लागेको थिएन जीवनबाट केही पनि । पाएको भए एक पल बिताउन हृदयको कर्णसँग, कस्तो थपिन्थ्यो होला उनको जीवनमा रङ ! अहो भएन पूरा त्यो चाहना पनि । परिबन्दको जालले राजा भनेन । भनेन रंक केही ।


वनबासको क्रमका यक्षप्रश्नको सामना गरेका हुन्छन् युधिष्ठिरले । यक्षले प्रश्न गर्छन्, ‘कोहो धर्तीमा सबैभन्दा धनी ?’
युधिष्ठिर भन्छन्, ‘त्यही मानिस हो, जसका लागि प्रेम र घृणा, धन र गरिबी, विगत र भविष्यले केही असर गर्दैन ।’
यक्ष फेरि सोध्छन्, ‘के होला संसारको सबैभन्दा आश्चर्यको कुरो ?’


भन्छन् युधिष्ठिर, ‘हरदिन असंख्य मानिसहरू मृत्युको मन्दिरमा पस्छन् । देखेर त्यो सबै पनि बाँच्नेहरू यो जीवन अनन्त ठानी बाँच्छन् ।’ अनन्त ठानेको जीवनको अन्तमा पुग्छिन् द्रौपदी । यतिबेला उनलाई लाग्छ जीवनका सबै अनुभव सम्पत्ति हुन् । उनीमाथि भएको अपमान र अत्याचार पनि । जुन भयानक लागेको थियो । फर्केर हेर्दा त्यो पनि अनुभूति हो । आगोझैं पोलिएको क्षण, चन्द्रमाको शीतलतामा नुहाएको क्षण सबै–सबै सम्पत्ति हुन् । आफ्ना जीवनका सबै क्षण उनलाई मोतीसरि अमूल्य लाग्छन् । ठीक यही बेला उनको अतृप्तताले एउटा उत्तर भेट्छ । पाँचवटा पतिले घेरिएकी महारानी हिमालयको महायात्राको अन्तिम घडीमा एक्लै हुन्छिन् । के रैछ त आखिर जीवन ? को हुनु रैछ, को नहुनु रैछ ? यही महासत्यको बोध गर्दै उनी विलय हुन्छिन् ।


यो गर्छु, त्यो गर्छु भन्दाभन्दै सकिन्छ एउटा यात्रा । फेरि पाए यो जिन्दगी कसरी बाँच्दिहुन् उनी ? जे–जे बाँचिन्, जसरी बाँचिन, निर्भय बाँचिन् । नियमका बन्दी निरीह पात्रहरूको सामुन्ने न्यायको कवच ओढेर बाँचिन् । एउटा शक्तिशाली रोमाञ्चक भूकम्प हुन् द्रौपदी । एक–से–एक नायकहरूलाई हाँकेर बाँचिन् । सौन्दर्य, प्रज्ञा र तर्कको अपूर्व संगम, अनन्त युगकी हे महानायिका ! समयले तिम्रो परिभाषा उल्टाउनैपर्छ ।

कोसेली

समय

- विमल निभा

सात सालको क्रान्ति
भइसकेको थिएन अझै

चार लाख पचास हजार
युवाहरुले आफ्नो व्यापक
जुलुसलाई कुनै आकार
दिन पाएका थिएनन्
न त विद्यार्थी, मजदुर,
कवि, पत्रकार, शिक्षक,
किसान, साना व्यापारी,
डाक्टर, खेलाडी, वकिल
र कलाकारहरुले आ–आफ्ना
कडा विरोधपत्र दर्ता गराएका थिए
खुला सडकको इजलासमा
नर र नारीहरु लम्किरहेका थिए
र मोटरको पाङ्ग्रा गुडिरहेको थियो

प्रथम जनआन्दोलन
भएको थिएन सम्पन्न हालसम्म
र त्यसपछिको दोस्रो आन्दोलन
हुने कुरै थिएन कुनै
यही तलमाथिको क्रममा
विद्रोही झापा पनि
मातृगर्भमा थियो लुकेको
र एक जुगमा एकचोटि आउने
जनयुद्ध पनि भइसकेको थिएन आरम्भ
सूर्य बिहानै उदाइरहेको थियो
र अस्ताइरहेको थियो बेलुकी

झन्डै तीन दशकसम्म
वातावरण दुर्गन्धित थियो निकै नै
पञ्चायतको कााचो वायुले
र पृथ्वीनारायणका वंशजहरु
जनगलहत्याइमा परेर
आफ्नो बाटो लागिसकेका थिएनन्
पृथ्वी आफ्नो धुरीमा
घुमिरहेको थियो निरन्तर

यस्तोमा पनि कोही एक जना
त्यसै बसेको थिएन चुपचाप
शिर झुकाएर एकान्त कुनामा
बरू चम्किलो भविष्यको
सुस्पष्ट रेखाचित्र कोर्न
आफ्नो मजबुत पिठ्युामा
इतिहासको यामान भारी बोकेर
हिँडिरहेको थियो
लुखुर–लुखुर ।

कोसेली

पोट्रेट

 

उसले टक्क उभिएर हेर्‍यो
बस हेरिरहृयो मेरो पोट्रेट

जहाँ आमा च्यापेर आफ्नो नानीलाई
चुसाउँदै थिइन् दूध
र, मुस्कुराउँदै थिइन् हेरेर
उसका सन्तुष्ट आँखाहरु ।

ऊ एक्लै खै कुन्नि के के बर्बरायो
निकालेर चलायो बन्दुक
रगतले लत्पतिएको क्यानभास
कुल्चँदै भन्यो–
ओ कलाकार
मलाई हाँसो मन पर्दैन ।

- रेनुका भट्ट

Page 20
कोसेली

गोरेटाहरू मेटिएछन्, गौँडाहरू भत्किएछन्

- गंगा बीसी

 

अहिले नुन, सुन, लत्ताकपडालगायत लिन १२, १३ दिन पैदल हिँडेर नेपालगन्ज जानुपर्ने अवस्था छैन । चालीसको दशकको मध्यसम्म नुन लिन रुकुमबाट नेपालगन्ज हाट गइन्थ्यो । त्यसपछि आठ दिन पैदल हिँडेर सुर्खेतको छिन्चु, ६ दिन हिँडेर सल्यानको बोटेचौर गएर हाम्रा बाबा, काकाहरूले नुन ल्याए । सल्यानको शीतलपाटी, बरला नुन लिन पाँच दिन लागाए । हाट गर्ने टाढा जाने दिन घट्दै गए । सडक नजिकिंदै आयो, नुन पनि नजिक आयो । नेपालगन्जसँगको नुन, सुन र लत्ताकपडाको साइनो अब लगभग टुट्यो । अहिले अरू नै साइनो छ । मेरा बा अहिले पनि नेपालगन्ज पुग्दा निःशुल्क बसेका धर्मशाला सम्झन्छन् । त्यो नुन, सुन, कपडा घिउसँग साटेको साइनो हो ।


कसरी बिर्सनु ती दिन, जहाँ घिउसँंग नुन र सुन साटिएको थियो । १३ दिन पैदल हिँडेर नुन, सुन र कपडा ल्याएको गोरेटो अब छैन । त्यसबेलाका ती पदचाप परेका गोरेटा केवल सम्झनामा मात्र छन् । रुकुम नेपालगन्ज हिँडेका तीन दिन अब बा र उनका साथीहरूसँग मात्र बाँकी छन् । ती दिन साँच्चिकै जीवन्त र कठिन थिए भन्छन् बा । नुन लिन नेपालगन्ज जाने बेला झाडापखाला लागेर मृत्यु भएका हटारुको सत्यकथा बाले सुनाउँथे । नुन लिन नेपालगन्ज एक मात्र विकल्प थियो । घिउका टिन बाकेर नेपालगञ्ज जानु अनि नुन, सुन र लत्ताकपडा लिएर फर्कनु हरेक वर्षको हिउँदको बेला हुन्थ्यो । हाट जानुअघि तेल घसेर तिघ्रा बलियो बनाइन्थ्यो । हाट जाँदा खुट्टा सद्दे भइरहोस् भन्ने प्रार्थाना गरिन्थ्यो । त्यसबेलाका हटारु गाउँका हिरो हुन् । हटारुबिनाको घर नुनबिनाको तरकारीजस्तै हुन्थ्यो ।


ढिकेनुनको बोरा बोकेर बाबाको हटारु टोली करिब दुई साता लगाएर फर्कन्थे । जब हटारु गाउँ फर्कन्थे, माहोलै बेग्लै हुन्थ्यो । गाउँ पुग्नुअघि बिर्सौना हुन्थ्यो, हटारुहरू त्यहींबाट घर पुगेको संकेत गर्थै । हाट गएको घरमा मीठोमसिनो पाक्थ्यो । किनकि ढिकेनुन, सुन, जिरा मसला, मट्टीतेल, लत्ताकपडा कोसेली लिएर आउने हटारुको घरमा भव्य स्वागत हुन्थ्यो । अहिलेजस्तो बिजुली नभए पनि घर उज्यालो भएजस्तै हुन्थ्यो । घर पुगेपछि हटारु हिरोजस्तै हुन्थे । जति किलोग्राम धेरै नुन ल्यायो, ऊ त्यति बहादुर मानिन्थ्यो । गाउँभर चर्चा हुने नै भयो । आखिर त्यति टाढा हाट गर्न जाने अवस्था सडकले गराएको थियो । अहिले त केको हाट जानु ? घर आगनमै नुनको पोका आइपुगेको छ । अब न हाट जाने अवस्था रह्यो, न हटारु । केही औंलामा गन्न सकिने पूर्वहटारु मात्र छन् ।


हामी फुच्चेहरू बा हाटबाट घर फर्केको दिन खुसीले नाच्थ्यौं । हाटबाट केही न केही चीज आएको हुन्थ्यो । केही नल्याए पनि कम्तीमा मुख गुलियो पार्ने गुड (सक्खर) खान पाइन्थ्यो । घरभरि केटाकेटी भएकाले हाटबाट ल्याउने ठूलो अपेक्षा हुँदैनथ्यो । केही गरी जुत्ता ल्याइदिएमा भने भुइँमा खुट्टा हुँदैनथ्यो । नयाँ जुत्ता देखाउन पूरै बिहानभरि गाउँ घुमिन्थ्यो । ती दिन साँच्चिकै रहरलाग्दा थिए । एउटा जुत्ता पाएमा, सानो खेलौना वा अरू कुनै चीज पाएमा संसारै खुसी हुन्थ्यो । हाल काठमाडौंबाट गाडीबाटै गए पनि बढीमा २४ घण्टामा रुकुम पुग्न सकिन्छ । नेपाल वायु सेवा निगमको जहाजबाट उडेर सवा घण्टामा रुकुम पुग्न सकिन्छ । रुकुमबाट ६ घण्टामा गाडी चढेर नेपालगन्ज पुगिन्छ । सडकले जोड्यो, बाटो छोटो भयो । यात्रा सहज छ । अहिले पश्चिम रुकुमका सबै गाउँमा गाडी पुगेको छ, घर गोठ नजिकै मोटरसाइकल राखेको देखिन्छ । कतिपयले भैंसी बेचेर त्यही गोठमा मोटरसाइकल पार्क गरेका देखिन्छ । अहिले सडक क्रान्ति नै देखिन्छ त्यहाँ ।

चैतको दोस्रो साता काठमाडौं विमानस्थलको धावनमार्गमा गुडेको नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज फर्कार्एर ह्याङ्गर पुर्‍याएर मर्मत गरेपछि रुकुमतिर लाग्यो । काठमाडौंमा बाक्लो तुवाँलो थियो, अरू जहाज तुवाँलो फाट्ने प्रतीक्षामा थिए । नेपाल वायुसेवाको जहाज भने उड्यो । मध्यपहाडी जिल्लाहरू नुवाकोट, गोरखा, अर्घाखाँचीलगायत आधा दर्जन जिल्ला पार गरेर रुकुम पश्चिम चौरजहारी पुग्नु छ । पहाड छल्दै चालकले उडाइहेका थिए । ‘पाइलटले आफू ढुक्क भएरै उडाएका होलान् नि । म बेकारमा किन डराउनु ?’ मनलाई शान्त मार्दै मनकुरा गरे । मेरो नजिक बसेका केटा एयर होस्टेसतिर हेर्छु, उनी ढुक्कसँग बसेका छन् । उनको पेसानै यस्तै । हामीजस्तो डराएर साध्य छैन । ‘जहाज त तुवाँलो झल्दै पहाडको बीचबाट गइरहेको छ, कस्तो सिपालु पाइलट ?’ मैले कुरा गर्ने मेलो निकाले । ती केटा एयर होस्टेसले भने, ‘यो मौसम ठीकै हो । योभन्दा खराब मौसमा उड्नुपर्छ ।’ उनले त्यही दिन जुम्ला, डोल्पा, साँफेबगर पुगेर नेपालगन्ज फर्कने गर्ने सुनाउन भ्याए । मलाई भने चौरजहारी कतिबेला पुगौंजस्तो भइरहेको थियो ।


काठमाडौंबाट उडेको जहाज मध्यपहाडको तुवाँलो छल्दै करिब सवा घण्टा बढीको यात्रापछि पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा आर्लिएपछि ‘क्याप्टेन सर, धन्यवाद’ भन्न कटपिटमा पुगेछु । उनले हाँस्दै भने, ‘तपाईं बढी डराउनुभएको थियोजस्तो लाग्यो ।’ जहाजमा जम्मा ६ जना यात्रु । अरू सबै महिला र बूढाबूढी मात्रै थिए । जहाज चौरजहारीबाट एक जना यात्रु टिपेर नेपालगन्ज उड्यो । निजी कम्पनीका वायु सेवा फाइदा हुने रुटमा मात्र चल्छन्, सरकारीले दुर्गममा सेवा पनि दिन्छन् । थोरै यात्रु हुँदा पनि दुर्गममा सेवा दिन्छन् । माथि गाउँबाट सरोज भाइ मोटरसाइकल लिएर मलाई लिफ्ट दिन चौरजहारी आएका थिए । सरकारले मध्यपहाडी राजमार्गमा निर्माण गर्न लागेका १० स्मार्ट सिटीमध्ये चौरजहारी पनि एक हो । तीव्र गतिमा पक्की भवन बन्ने क्रम चलेको छ । तराईको झल्को दिने गरी भाडाका अटोरिक्साको ताँती लागिसकेछन् । सरोजको मोटरसाइकलको तीव्र गति देखेर मैले भनें, ‘बाबु, बिस्तारै जाऔं । घर पुग्न हतार छैन ।’


गाउँ जान पाउँदा खुसी हुने दिन पनि आए अहिले । गाउँबाट सहरतिर जानु सामान्य भइसक्यो । सहर गाउँ पसेको होइन, गाउँ विकास हुन थालेका हुन् । सहरका कुरा गाउँ जाँदै छन्, बरु गाउँका कुरा सहर आउन मुस्किल । मान्छेचाहिँ सकीनसकी सहर पस्न खोज्दै छन् । जसरी सहर जबरजस्त गाउँलाई प्रभाव पार्न खोजेको देखिन्छ । गाउँलाई विकसित गर्नुपर्छ, सबै गाउँलाई सहर बनाउने होइन, सुविधासहितको मौलिकता दिनु राम्रो हुनेछ । गाउँ जान दसैँ, तिहार आउनुपर्छ भन्ने छैन । तर, चलन त्यस्तै बनेको छ, गाउँ जान दसैं तिहार आउनुपर्छ । दसैँ र तिहारले सहरका मान्छेलाई चुम्बकले तानेझैं गाउँ लैजान्छ । केही दिन ‘हेलो हाई’ पछि उनीहरू व्यस्त सहर फर्कन्छन् । प्रायः दसैँमा मात्र घर जाने भएकाले होला, आमाले भन्नुभयो, ‘यो बेला घर आउने अरू काम थियो कि भेटघाट मात्रै ।’ मिसन भेटघाट मात्रै थियो । ७५ वर्ष पुगेका बाआमा र नातेदारसँगको भेटघाट रिन्यु गर्ने धोको पूरा भयो ।

कालापहाड (हिमाञ्चल पहाड, भारत) जाने घटेका छन् । खाडी जाने बढेका छन् । गाउँ थोरबहुत नगद भित्रिएको छ । अब पाखो र केही खेतको उब्जनीमा भर पर्नुपर्ने अवस्था छैन । विदेशको कमाइले घरमा बस्नेहरूलाई अल्छी बनाइदिएको छ । १० वर्षे युद्धले थला पारेको रुकुममा विकासका लहरले अहिले नै ‘गाउँबाट भागिहालौं’ भन्ने अवस्था छैन । गाउँमा केही इलम वा जागिर भए गाउँमा सुगन्ध भरिन्छ ।


यसपटक गाउँघर जाँदा थाहा भयो, केही वर्ष अघि हिंडेका गोरेटाहरू मेटिइँदै गएका रहेछन् । गोरेटा नरहे त्यहाँ हिंड्ने चाहना पूरा हुन गाह्रो हुनेछ । गाउँगाउँमा सडक पुगेपछि गोरेटो को हिंडोस् ? कहिलेकसो गाउँ जानेहरूले याद गर्ने हो, त्यो ठाउँमा गोरेटो बाटो थियो, अहिले धेरै गोरेटा मेटिएछन् । धेरै गोरेटा बाटाहरू हराइसकेछन्, सडक नपुगेका ठाउँमा जंगलले छोपिसकेछ ।


कुन ठाउँको गोरेटोमा कस्ता गौंडो थियो, सबै याद छ अहिले पनि । तर गोरेटा नै नरहेपछि ती गौंडाहरू पनि भत्किसकेछन् । सानोमा पानी र अरू भारी बोकेर हिंड्दा गौंडा काट्नुपर्दा सास्ती भोगेका सम्झनाहरू अहिले पनि छन् । यस पटक गाउँ जाँदा सानोमा हिंडेका थोरै गौंडाहरू मात्र भेटिए, धेरै हराइसकेछन् । गाउँमा धेरै गौंडा हुनु भनेको दुःख भोग्नु पनि हो । उकाली, ओराली गर्दा जति धेरै गौंडा उति धेरै समस्या पर्थ्यो । उकालो र ओरालो गर्दा यति गौंडा काटियो भनेर गणना नै हुन्थ्यो । यो सन्दर्भमा गायक प्रेमध्वज प्रधानले सन् १९६२ मा गाएको गीत अहिले पनि त्यत्तिकै सान्दर्भिक लाग्छ ।

गोरेटो त्यो गाउँको लौ न आज, खोजी खोजी थाके नि,
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ ।
एकलास वन माझ, बिराएँ बाटो आज, अलमलिए लौ न म त...
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ ।
गाउँतिर अहिले मोटरसाइकल वा गाडीमा कति घुम्ती छन् भन्न थालिएको छ । कहिलै गाडी नदेखेका बूढापाकाहरू गाउँमा गाडी देखेर भन्दै छन्, गाडी त आयो । ल्याउने, नल्याउने चीज बोकेर आयो । गाउँमा गाडी मात्र पुगेन, त्यसले चाउचाउ, बिस्कुट, बियर, रक्सी, सोयाबिन मस्यौरा, खानेतेल, ग्यास, पेट्रोललगायत धेरै चीज ल्यायो । गाउँलेहरू मास, चना बेचर चाउचाउ खान थाले, भटमास सस्तोमा बेचेर सोयाबिनको मस्यौरा खाना थाले । बारी खेतमा फलेको धानचामल, गहुँ, मकै, कोदो नखाएर पसलको चामल उपभोग गर्नर् लागे । तोरी बेचेर सहरतिरबाट गएको तेल किनेर खाने बानी बस्यो । दहीभन्दा कोकमा बानी पर्दै गयो । अरू धेर्र कुरामा बानी फेरिंदै गयो ।


आम्दानीको भरपर्दो स्रोत नभए पनि महँगो मोटरसाइकल किन्नु सान ठानिन्छ । मोटरसाइकलमा हुइँकेर पुग्ने आखिर त्यही परको बजार हो । बानी बिग्रिइसकेका होइन, खाने बानीमा फेरिएको हो । बानी सुधार गर्न ढिला भइसकेको छैन । सहर भित्र्याउन होइन, मौलिकता जोगाउने मुख्य काम हुनुपर्ने हो ।सडक पुगेपछि उकाली–ओरालीको दुःख भुल्नु स्वाभाविक हो । आफ्नै बारी खेतको खानेकुरा भुल्नुचाहिँ अर्को भूल हो । चौरजहारीमा एक दशकभन्दा बढी पसल गर्दै आएका शशिराम रोकाय सडकसँगै बजार माथिमाथि सर्दै गएको सुनाए । मान्छेको आनीबानी फेरिएको बताए । ‘सडकले नै बजार सार्दै लैजाँदो रहेछ, माथिमाथि सडक गएसँगै व्यापार पनि उतै सर्‍यो,’ उनले भने ।


मान्छेको बानी फेरिएको हो कि बिग्रिएको ? उनी भन्छन्, ‘सजिलै किन्न पाइने भएपछि के भन्ने ? किनेर मसिनो खाने बानी बस्यो । अलिअलि बानी पनि बिग्रियो ।’ पढेका जति सबैले जागिर खोज्न थालेपछि अरू खेतीपातीको काम कसले गर्ने ? पढेर जागिरै गर्नुपर्छ भन्ने मान्यताले घर गरेपछि अन्य पेसा गरेर खाने कम छन् । ‘आफ्नो पेसा गरेर खानुपर्छ भन्ने कम छन् । बाउबाजेले गरेको कृषि पेसाले धानेन भने अन्य काम गर्न सकिन्छ,’ चौरजहारीका समाजसेवी तेजबहादुर बटालाको भनाइ छ, ‘सुविधासहितको हुनुपर्छ आफ्नो मौलिकता त्याग्नुहुँदैन भन्ने उनको बुझाइ छ ।युवाहरूमा सकेसम्म जागिर खाने, विदेश जाने त्यो सम्भव नभए केही न केही आयआर्जनको काम गर्ने प्रयास गरेको देखिन्छ । युवाहरूले घरमै कुखुरा, बाख्रापालन र अन्य नगदेबाली काम गरेको देखिन्छ । आयस्रोतले भ्याएसम्म अन्य व्यवसाय गरेको पाइन्छ । बाउबाजेले गरेको कृषि पेसाले अब गुजारा चल्दैन भन्ने बुझाइ उनीहरूको छ । यसले केही नयाँ काम गर्ने चेतना जगाउनु सकारात्मक पक्ष हो ।


दसैंतिहारबाहेक अरू बेला गाउँ पुग्दा खासगरी बूढापाकाहरूले प्रश्न गर्छन्, के कामले गाउँ आयौ ?’ दसैंतिहारमा गाउँ जानुपर्छ, अरू बेला नगए पनि हुन्छ भन्ने आम बुझाइले यस्तो प्रश्न आएको होला । गाउँमा भेटिने जोसुकै बूढापाकाहरू खुसी व्यक्त गर्छन्, ‘आउँदै गरे, माया नमारे ।’अब स्थानीय सरकार गाउँमै छ । जनताका कुरा सुन्ने जनप्रतिनिधि छन् । जनताको कुरा सुन्नु नसुन्नु अर्कै कुरा हो । गुनासा र अपेक्षा थामिनसक्नु छन् जनप्रतिनिधिलाई । काम भएको छ । विकास हार्डवेयरमा बढी देखिन्छ । मुख्यगरी बाटाघाटाका काम जताततै देखिन्छ । विकास भनेको सडक होझैं लाग्छ त्यता पुग्दा । सफ्टवेयर अर्थात् चेतनाको काम बाँकी छ । चौरजहारी नगरपालिकाको प्राथमिकता भने अर्कै रहेछ । ‘शिक्षा, स्वास्थ्य, कृषि उत्पादनलाई मुख्य योजना बनाएका छौं,’ मेयर विशाल शर्माले भने, ‘शिक्षा, स्वास्थ्य र कृषि उत्पादन राम्रो भए नगरपालिका समृद्ध हुने विश्वास छ ।’ उनले जनतालाई विकासको अवधारणा बाटोघाटो, बिजुली, खानेपानी मात्र भएको बताए । उनले हार्डवेयर विकाससँग सफ्टवेयर विकास अर्थात् जनचेतनाको काम गर्न त्यति नै जरुरी रहेको बताए ।


खासगरी युवाहरू विकासलार्ई सही सदुपयोग गर्नेभन्दा देखासिकीमा रमेको देखिन्छ । रुकुम पश्चिमका स्थानीय तहले मदिरा नियन्त्रण गर्ने अभियान रोकिएको छ । गाउँमा दाउराको चाङजस्तै बियरका खाली बोटलको चाङ लाग्न थालेको छ । ‘विकास भएको छ, त्यसलाई आफ्नोअनुकूल कसरी प्रयोग गर्ने चुनौती छ । युवाहरूमा चेतना आउनु आवश्यक छ,’ चौरजहारीका स्थानीय व्यवसायी यदुकुमार आचार्यले भने ।गाउँलाई गाउँ रहन दिनुपर्छ, सुविधासम्पन्न गाउँ । न कि सहरको नक्कल । गाउँमा पाइने रैथाने चीजको जगेर्ना नगरे भोलि के होला ? त्यसबेला गाउँ न सहर जस्तो न गाउँजस्तो हुने छ ।
कवि मीनबहादुर बिष्टको कविताबाट व्यंग्य गरेजस्तो गाउँमा धेरै कुरा छ ।

धेरै वर्ष
लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्कंदा
बातैपिच्छे
भन्ने गर्छन् लाहुरेहरू
‘साला पहाडमे क्या है’
हो, केही छैन ‘साला’ पहाडमा
केही छैन, तर जरुर केही छ पहाडमा ।
जरुर पहाड अर्थात् गाउँमा केही छ र मान्छेहरू दुःखलाई सुखमा बदलेर बसेका बूढाबूढी मात्र होइन, युवाहरू पनि छन् । पहाड पक्कै उकालो छ, त्यो उकालोमा हिंड्ने बलिया पाइलाहरू छन् । अब त गाउँमा विकास पनि पुगेको छ, विकाससँगै सहरका कोसेली पुगेको छ । जरुर गाउँमा धेरै चीज छ ।

कोसेली

'नमासम् राखम् कर्णाली !'

- नवीन बराल

देलेख र अछाम जिल्लाको सिमाना राकम कर्णालीमा तेस्रो नदी सम्मेलन भइरहेको थियो । नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले बारम्बार दुइटा नारा दोहोर्‍याइरहेका थिए, ‘ॐ कैलाश कर्णाली कर्म’ र ‘नमासम् ! राखम् कर्णाली ।’ यी दुई नाराको अर्थ व्याख्या गर्दै उनी भन्दै थिए, ‘विश्वका उत्कृष्ट नदीमध्ये कर्णाली पहिलो नम्बरमा पर्छ । त्यसैले अन्य नदीमा गरिएका गल्तीहरू यहाँ दोहोर्‍याउन हुँदैन । यसलाई मास्न हुँदैन । हाम्रा भविष्यका सन्ततिले कैलाश र गंगा जोड्ने यस सुन्दर नदीमा कर्म गर्न पाउनुपर्छ । यस नदीको कर्म नै यस क्षेत्रको समृद्धिको आधार हो ।’


४४ दिने कर्णालीको शिरदेखि पुच्छारसम्मको यात्रामा उनले ‘ॐ कैलाश कर्णाली कर्म’ को रचना गरेका हुन् । तिब्बतको कैलाशदेखि भारतको गंगासम्म कर्णाली नदीले १ हजार ८० किलोमिटरको यात्रा गर्छ । सो यात्रामा उनले यो नारा १ हजार ८० भन्दा पनि बढी जपे र जप्न लगाए । तेस्रो नदी सम्मेलनमा आइपुग्दा त यो कर्णाली संरक्षणको मन्त्र नै बन्न पुग्यो ।


तिब्बतदेखि हुम्लाको तुमकोटसम्म शान्त बग्ने कर्णाली नदी शिव गल्ली पार गरेर यारी खोलामा मिसिएपछि गड्गडाउन थाल्छ । सिमिकोटभन्दा तल लालिबगरमा भने कर्णाली केही बेर शान्त हुन्छ । लालिबगरको शान्त र सुन्दर रूपमा बगेको कर्णालीसँग मोहित हुँदै आलेले भविष्यमा आफ्नो अन्तिम संस्कार यही नदीमा गराउने इच्छासमेत व्यक्त गरे । दैलेख र अछामको सिमाना राकम कर्णालीमा पनि यो नदी लालिबगरमा झैं सलल बग्छ । राकममा भने नदी छेउछाउ मान्छेको चहलपहल र बस्ती देखिन्छ । राकममा मानिसहरू कर्णालीसँग अन्तरक्रिया गर्छन् । नदी वारि र पारि माझीहरूको बस्ती छ । नदी किनारामा एउटा ठूलो ‘वर’ को रूख छ । रूखको आडैमा पुरानो माझी बस्ती छ । दैलेखको यो माझी बस्ती र कर्णालीपारिको अछामका माझी बस्तीलाई जोड्ने एउटा झुलुंगे पुल छ । यस पुलमुनि नदीमा लगभग एक किलोमिटरको परिधिमा दिन रात माछा मार्नेहरू देखिन्छन् ।


यो माछा मार्ने मौसम नै रहेछ । चिसोपानीमा चलमलाउने ‘असला’ जालमा पर्ने । तलतल तराईमा गर्मी बढेपछि माछा चिसो पानी खोज्दै पहाडतिर उक्लिन्छन् । असलाको चिसोपानीतिरको यही यात्रालाई मानिसहरू ‘माछा मार्ने सिजन’ भन्छन् । केटाकेटीदेखि बूढा–पाका सबैले यो मौकाको फाइदा उठाउन काठको नाउँमा ‘करेन्ट जाल’ लिएर बगेको बग्यै हुन्छन् । नदीको वहाबसँगै बग्ने जाल भएकाले यसलाई ‘करेन्ट जाल’ भनेका होलान् । पुल तलबाट जाल हान्दै ५ सय मिटरजति तल बग्ने अनि माछा सोहोर्दै माथि पुलमुनि आएर जाल हान्न पालो कुर्नुपर्छ । लगभग नदीको चौडाइ जति नै लामो करेन्ट जालबाट माछा फुत्किनै पाउँदैन जस्तै भान हुन्छ । एउटा जालपछि अर्को जाल हान्ने समयमा केही सेकेन्डको मात्र अन्तर हुन्छ । यही केही सेकेन्डमा माथि जाने माछाले आफ्नो खुड्किलो पार गर्दा हुन् ! तर, नदीमा यही एउटा मात्र खुड्किलो भने होइन । मान्छे राकमदेखि तल पनि बस्छन्, माथि पनि ! यी सबै खड्को पार गर्ने असलाले मात्रै आफ्नो वंशलाई निरन्तरता दिन पाउनेछ !


पुलमुनि देखिन्छ, माछा किन्नेको घुइँचो । एउटा माछाको एक सय पचास । साह्रै नै ठूलो वा सानो माछाको मूल्यचाहिँ फरक–फरक । एक सयदेखि सात सयसम्म । मैले पनि माछा किनेर मोतीकला माझीलाई पकाइदिन अनुरोध गरे । उनले सहर्ष स्विकारिन् । मोतीकलाको घर कर्नालीले बनाएको टापुमा छ । हिउँदमा नदीमा पानी कम हुँदा हिँडेरै तर्न सकिन्छ । वर्षामा डुंगाको सहारा । बाढी नै आयो भने घर नै छोडेर भाग्नुपर्छ ।


मैले मोतीकलालाई पहिलोचोटि भेट्दा उनी आफ्नो घरको दैलोमा नातिलाई स्तनपान गराउँदै थिइन् । बीस वर्षकी छोरीलाई मृगौला रोगले लगेपछि, उनले नै नौमहिने दूधे नातिको पालनपोषणको जिम्मा लिइन् । मोतीकलाको दूध सुकेको सोह्र वर्ष भइसकेको थियो । तर, नौमहिने नातिले लगातार दुई महिना चुसेपछि दूध आउन थाल्यो । अहिले नाति दुई वर्षका भए ।


लगभग ५ सय मिटर तल कर्णालीको तीरमा सयौं टेन्ट बिछ्याएर कर्णाली नदी, जैविक विविधताको संरक्षण र नदीमा आश्रित मानिसहरूको जीवनस्तर कसरी उकास्ने भन्नेबारे बहस हुँदै थियो । म यो बहस छोडी डुंगा तरेर अछाम पुगें । यो कुज्जेडा गाउँमा दलित, क्षत्री र माझीका घरहरू थिए । सबैको दलिनमा जाल झुन्डिएको, सबै माछा मार्ने । लाग्थ्यो, सबै माझी !


खोलापारि दैलेखमा गाडी गुडे पनि यता भने भर्खरै फलामे गंगटाले बाटो खोस्रेको रहेछ । त्यो पनि विवादमा परेर पूरा हुन नपाउँदै तुहिएछ । कर्णाली नदीमा हजारौं मेगावाट बिजुली निकाल्ने कुरा भइरहे पनि नदी छेउको यो गाउँमा बिजुली छैन । धान कुट्ने मिल छैन । जीवन ढिकी र जाँतोको भरमै चलेको छ । तोरी पेल्न घण्टौं भारी बोकेर दुःख बेसाउनुपर्छ ।


चालीस वर्षअगाडि रोजागरीका लागि भारत गएका बेला आँखामा सानो फुलो परेको थियो– कुज्जेडाका लालबहादुर बोहराको । त्यो आँखाले नदेखेको धेरै वर्ष भयो । अहिले उनी ७५ वर्षका भए । बेलुकाको छाकका लागि हजुरआमा शारदा माझी र नातिनी चाँदनी माझी बिहानैदेखि ढिकीमा धान कुट्न व्यस्त देखिन्थे । शरुदेवी माझी र अमरबहादुर माझीको वृद्ध जोडी आफ्नो गाउँबाट तल कर्णाली बगेको मात्रै हेर्न सक्छन् । माछा मार्न नसकेको वर्षौं भइसक्यो ।


नदी उत्कृष्ट तर नदी किनारको बस्ती यति सुविधाहीन ? हजारौं मेगावाट बिजुलीका कुरा एकातिर बस्तीको अन्धकार अर्कोतिर । यस्तो किन होला ? यस्तै प्रश्न मनमा लिएर म क्याम्पमा फर्किएँ । के कर्णालीमा निकालिने बिजुलीले यो गाउँमा समृद्धि ल्याउला ? यसको सम्भावना तत्कालै देखिँदैन । बिजुली निकाल्न लगानी जुटाउन नसकी म्याद मात्रै थप्ने काम भएको कुरा सबैलाई थाहा छ । लगानी जुटाई बिजुली नै निकाले पनि यो माझी बस्तीले कुन कोणबाट फाइदा लिने हो ? त्यो थाहा छैन । वर्षौं नदी रुँगेर बस्नेलाई नदीमा हुने विकासले विनाश पनि दिने सम्भावना छ ।


समृद्धिका अन्य सम्भावना पनि होलान् । मैले भने पर्यटन, त्यसमा पनि होमस्टेमा कुज्जेडाको समृद्धिको सम्भावना देखें । अन्तर्राष्ट्रिय पर्यटकको मुख ताक्नुभन्दा पनि कुज्जेडाले आन्तरिक पर्यटकलाई स्वागत गर्न सके पुग्छ । त्यो पनि सुर्खेत र नेपालगन्जका । यसका लागि माझी बस्तीले घरहरूमा केही पूर्वाधार विकास गरी कर्णालीको माछाको परिकार र रैथाने खानाको स्वाद पस्किन सक्नुपर्छ । आन्तरिक पर्यटकको विकास हुन थालेपछि बिस्तारै अन्य विकासको बाटो पनि खुल्न थाल्छ । स्थानीय सरकार र संघ–संस्थाले यसको संवर्द्धन र प्रवर्द्धन गरिदिनुपर्छ । कुज्जेडाका माझीले देखाउने भनेकै कर्णाली नदी र माझी संस्कृति हो । त्यसैले कुज्जेडावासीले कर्णालीलाई मास्न दिनु हुँदैन । यसलाई जोगाउनुपर्छ । यसो गर्न सके मात्र कुज्जेडाले निकट भविष्यमा समृद्धि देख्न सक्ला ।

कोसेली

मूर्ख समाजसँग जुवा

उनीहरूले जित्दा समाज हारेको थियो । २६ लाख अमेरिकीले जागिर गुमाए, लाखौं घरबारविहीन भएका थिए, केहीले आत्महत्या गरे ।
- मुराहरि पराजुली

 

सामान्यतया सेयर बजारमा किन्नेले सस्तोमा किनिरहेको छु भन्ठान्छ । उसलाई किन्नेहरूको लाममा म बीचमा छु भन्ने लाग्छ । मैले महँगैमा किनेको रहेछु भने पनि किनेको चीज अर्कालाई भिराउन सक्छु, अर्कालाई मूर्ख बनाउन सक्छु भन्ने उसलाई लागेको हुन्छ ।


मान्छेले कहिलेदेखि यस्तो मुर्ख्याइँ गर्न थाल्यो र संकट आइलाग्यो भन्ने प्रामाणिक इतिहास छैन । तर, इतिहासमा रेकर्ड भएको सबैभन्दा पुरानो घटना ‘ट्युलिप मानिया’ लाई मानिन्छ । चार्ल्स माकेको पुस्तक ‘एक्स्ट्राअर्डिनरी पपुलर डिलुजन एन्ड म्याडनेस अफ क्राउड’ मा सन् १६३६–३७ मा ट्युलिप फूलको पछि मान्छेहरू कसरी अन्धो भएर लागेका थिए भन्ने चर्चा गरिएको छ । माकेका अनुसार त्यतिबेला नेदरल्यान्ड संसारकै धनी मुलुक थियो, त्यहाँ सबैजसो वर्ग र पेसाका मान्छे ट्युलिप किनबेचमा लागेका थिए । त्यतिबेला मान्छेहरूले ट्युलिपको ४० वटा गानोलाई एक लाख डच गिल्डर्स (मुद्रा) सम्म तिरेका थिए । जबकि त्यति नै बेला एउटा दक्ष कामदारको वार्षिक आम्दानी १ सय ५० देखि ३ सय ५० गिल्डर्स हुन्थ्यो । बहुमूल्य सम्पत्ति मानिएको ट्युलिपको मूल्य चुलीमा टिकिरहन सकेन र धेरैलाई नोक्सान भयो ।


यसरी सम्पत्तिहरूको बजार पानीको फोकाझैं उठ्ने र फुट्ने क्रम रोकिएको छैन । सन् १७२० को साउथ सी बबल र मिसिसिपी कम्पनी संकट, सन् १९३० दशकको महामन्दी, १९७३ को तेल संकट, १९९७ को दक्षिण पूर्वी एसियाको संकट र २००० को डटकम बबल यो शृंखलामा जोडिन आइपुग्छन् । सन् २००८ को वित्तीय संकट हामीले थाहा पाएको सबैभन्दा पछिल्लो घटना हो । यो संकटलाई लिएर धेरै सरकारी प्रतिवेदन तयार भएका छन, पुस्तक लेखिएका छन, फिल्म र डकुमेन्ट्री बनेका छन् । एउटा ओस्कारसहित अरू धेरै अन्तर्राष्ट्रिय पुरस्कार पाएको र मनग्गे पैसा कमाएको ‘द बिग सट’ ले चार प्र्रमुख पात्रका माध्यमबाट वित्तीय संकटको कथा भनेको छ । सत्य घटनामा आधारित यो फिल्मले पुँजी बजारका जटिल अवधारणालाई बुझाउन नोबेल अर्थशास्त्री रिचार्ड थेलर, गायिका सेलेना गोमेजलगायत सेलेब्रिटीलाई बीचबीचमा उभ्याएको छ ।


कथा २००५ देखि सुरु हुन्छ । कथामा प्रमुख पात्रहरू हेज फन्ड म्यानेजर मार्क बम, डुइचे बैंकको कर्मचारी जार्ड बेनेट, पूर्वसेयर कारोबारी बेन रिकेट र अर्को हेज फन्ड म्यानेजर डा.माइकल बरीले छुट्टाछुट्टै अमेरिकी वित्त बजार संकटापन्न छ भन्ने पत्ता लगाएका हुन्छन् । घरजग्गामा बैकहरूले दिएको जथाभावी कर्जा, त्यो कर्जा प्रदान गर्नका लागि बैंकहरूले जारी गरेको ऋणपत्र र त्यस्तो ऋणपत्रलाई बिमा गर्ने कम्पनी सबै धराशायी हुन्छन् भन्ने उनीहरूलाई लागेको हुन्छ ।


तर बजारले यसको छनक पाएको हुँदैन । सस्तोमा सजिलै ऋण पाइने भएपछि चार कोठा मात्रै घर भए पुग्नेले आठ कोठाको घर किनेका हुन्छन्, एउटा भए हुनेले दुइटा किन्छन् । उनीहरू लाई लागेको हुन्छ ‘घरको भाउ बढेको बढ्यै हुन्छ, कहिल्यै घट्दैन । महिना, छ महिनामा घरको भाउ दोब्बर हुन्छ, बेच्छु, ऋण तिर्छु, नाफा कमाउँछु ।’ वित्तीय क्षेत्रका पेसेवरले यस्तै सोचेका, गरेका हुन्छन् नै डाक्टर, वकिल, पत्रकार, शिक्षकलगायत अरू पेसाका मान्छे पनि यही भ्रममा हुन्छन् । बजारप्रति उनीहरूको ठूलो आस्था हुन्छ । उनीहरू ह्वारह्वारती बलेको पुँजी बजारमा जल्ने पुत्ला बन्न आइपुग्छन् ।


बैंकहरू पनि ऋणपत्रबाट संकलित रकम हो त्यसमाथि बिमा गरिएकै छ भनेर धमाधम कर्जा दिइरहेका हुन्छन् । नाम ठेगाना भए पुग्ने फर्जी कागजातहरूबाट ऋणयोग्य छु भन्ने ग्राहकलाई दिल खोलेर ऋण दिइरहेका हुन्छन् । बढीभन्दा बढी ऋण प्रवाह गर्न सक्ने कर्मचारी र एजेन्टलाई दिइने सेवा सुविधामा कुनै कन्जुस्याइँ गरिएको हुँदैन । कर्मचारी र एजेन्टले नगद बोनस, गाडी, विदेशको महँगो ट्रिप पुरस्कार पाइरहेका हुन्छन् । बैंकहरूले नाफा कमाइरहेका हुन्छन् । बैंकका कार्यकारीहरू पुँजीवादका सम्राट्झैं हुन्छन । उनीहरूको आर्थिक तथा राजनीतिक शक्ति शिखरमा हुन्छ ।


मान्छे सरकारी हुन् वा बजारका लोभले सबैलाई गाँजेकै हुन्छ । त्यो उत्कृष्ट सपनातुल्य जीवनको लोभ कसलाई हुँदैन र ? त्यसरी कमाएको धन सुरासुन्दरी, जुवातास, विलासी साधनहरूमा पर्याप्त खर्च हुन्छ । यसैलाई सबैले सत्य मानिरहेका हुन्छन् । राजनीतिक, व्यावसायिक, सामाजिक, प्राज्ञिक क्षेत्रका अधिकांश मान्छेले यसलाई स्वाभाविक रूपमा लिएका हुन्छन् । यो अस्वाभाविक छ, टिकाउ हुँदैन, लामो समय चल्दैन भन्नेका आवाज दबिएका हुन्छन् ।


फिल्मका ४ प्रमुख पात्रहरूले आफ्ना साथीभाइ, छिमेक, सहकर्मी, मिडियालाई यो भ्रम र संकटको कुरा भन्न खोजिरहेका हुन्छन् । उनीहरूका कुरा सुनिदैन । अनि आजित उनीहरू मूर्ख समाजसँग जुवा खेल्ने अप्रिय निर्णय गर्छन् । पहिलो पात्र मार्क बम साथीहरूसँगै अमेरिकाका विभिन्न सहर घुम्छ । उनीहरूले पैसैपैसा कमाएका घरजग्गा दलाललाई भेट्छन्, सबैतिर रित्तारित्ता घर भेट्छन् । अमेरिकाभर चाहिनेभन्दा बढी घर बनेका हुन्छन् । कुकुरको नाममा, मेक्सिको हुँदै भर्खर छिरेको आप्रवासीलगायतको नाममा घर बनेका हुन्छन् । उनीहरूले घर नबिकेर मानसिक सन्तुलन गुमाएका मान्छे भेट्छन् । त्यस्ता घर बनाउन प्रयोग भएको ऋण डुब्ने पक्का हुन्छ तर बैंकहरूको नाफा बढेको बढ्यै हुन्छ ।


त्यसपछि उनीहरू त्यस्तो ऋणलाई असल भनेर प्रमाणित गरिदिने रेटिङ एजेन्सी पुग्छन् । रेटिङ एजेन्सी ‘त्योे त हाम्रो धारणा हो, त्यसलाई तपाईं पत्याउन सक्नुहुन्छ, नपत्याउन नि सक्नुहुन्छ’ भनेर टकटकिन्छ । आफूले असल हो नभनिदिने हो भने बैकहरू छिमेकमै भएको अर्को रेटिङ एजेन्सीकोमा जाने र आफ्नो व्यवसाय चौपट हुने बाध्यता सुनाउँछ कम्पनीको प्रतिनिधिले । सारा संसारले भर परेर लगानी गरिरहेको रेटिङ एजेन्सीको यस्तो अवस्था सुनेर अवाक हुन्छ बमको टोली । दोस्रो पात्र डुइचे बैंकको कर्मचारी जार्ड बेनेट हुन्छ । उसले पनि आफ्नो बैंकमा त्यसरी जथाभावी ऋण दिनु हुँदैन भन्ने आवाज उठाएको हुन्छ । आफ्नो बैंकमा मात्र नभएर अरू बैंकमा पनि गएर भनेको हुन्छ । उसको कुरा कसैले पत्याउँदैन । संकट आउँदै छ भन्ने उसको प्रतिवेदन धेरै बैंकको लबीमा रहेका कफी टेबलमा मिल्किएका हुन्छन् ।  


तेस्रो पात्र बेन रिकेट अमेरिकाकै एक बैंकका लागि सिंगापुरमा बसेर सेयर कारोबार गरिरहेको हुन्छ । पैसो कमाउने प्रतिस्पर्धाबाट वाक्क रिकेट सिंगापुरको जागिर छोडेर घरै फर्किन्छ । उसाग प्रशस्त पैसा हुन्छ । घरमा करेसाबारी गोड्दै, फूलका बगैंचा स्याहार्दै बसिरहेको हुन्छ । ऊ वित्त बजारको ठूलो खेलाडी हो भन्ने छिमेकका दुई जना कलेज पढ्ने केटाहरूबाहेक अरूलाई थाहा हुँदैन । केटाहरूले उसलाई वित्त बजार संकटमा पुगेको र त्यसबाट नाफा कमाउने तरिका आफूलाई थाहा भएको बताउँछन् । सुरुमा उसले केटाहरूलाई हप्काउँछ र त्यस्तो खेलबाट टाढै बस्न चेतावनी दिन्छ । उसले समाचारहरूमा आँखा डुलाउन थाल्छ, केटाहरूले फेला पारेको प्रतिवेदन हेर्छ । ऊ केटाहरूको कुरा पत्याउन बाध्य हुन्छ । अनि वित्त बजारमा कारोबार गर्न उसलाई प्राप्त विशेष अधिकार र पुँजी केटाहरूलाई दिन्छ ।


चौथो पात्र औपचारिक शिक्षाले चिकित्सक ‘स्किअन क्यापिटल’ नामको हेज फन्ड म्यानेजर डा.माइकल बरी हो । उसको प्रक्षेपण २००७ को सेप्टेम्बरमा अमेरिकी बजार क्र्यास हुन्छ भन्ने हुन्छ । उसको प्रक्षेपण सही निस्कन्छ, तर उसले भनेको भन्दा दुई चार महिना ढिलो हुन्छ । यसबीचमा उसले आफ्ना साझेदारसँग निकै गलफत्ती गर्नुपर्छ । साझेदारहरूले उसलाई ‘अर्थतन्त्रका बारेमा तैंले बढी जानेको छस् कि ३० वर्षसम्म अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको प्रमुख भएका धुरन्धर अर्थशास्त्री ग्रिन स्पानले जानेका छन्’ भन्दै खिसीट्युरी गर्छन् । तथापि, सन् २००० मा उसले सुरु गरेको हेज फन्ड ‘स्किअन क्यापिटल’ ले २००८ को वित्तीय संकटमा अर्बौं डलर बाजी मार्छ ।


प्रमुख चार पात्र सबैले एक्लाएक्लै समग्र समाजले भनेको भन्दा उल्टो कुरा गरेर वाल स्ट्रिटमा बाजी लगाउँछन् र अर्बौं डलर हात पार्छन् । उनीहरूले १९७० दशकको सुरुतिर पुँजी बजारले पत्ता लगाएर विकसित हुँदै आएका वित्तीय औजारहरू (स्वाप, सीडीओलगायत) डेरिभेटिभ्सहरू हुन्छन् । धितोपत्र बजारमा सबभन्दा बुझ्न सजिलो औजार ऋणपत्र र सेयर हुन भने डेरिभेटिभ्स सामान्य मानिसले त्यति सजिलै बुझ्दैनन् । त्यसरी अर्बौं डलर हात पार्दा पनि प्रमुख पात्रहरूको मन रमाएको हुँदैन ।

उनीहरूले जित्दा समाज हारेको हुन्छ । त्यतिबेला २६ लाख अमेरिकीले जागिर गुमाएका थिए, लाखौं घरबारविहीन भएका थिए, केहीले आत्महत्या गरे । त्यत्रो जनधनको क्षति हुँदा पनि जेल जाने कम थिए । मानौं त्यो कसैको बदमासी थिएन, कुनै प्राकृतिक विपत्ति थियो । लगानी कम्पनी लिम्यान ब्रदर्सजस्तो पुँजीवादी धरोहर ढलेको थियो । लिम्यानजस्ता कम्पनी ढल्छन्, घरजग्गा कारोबार ध्वस्त हुन्छ, वित्त बजार जुन ज्ञानमा चलेको छ त्यो अपुरो छ भन्ने कसैले पहिले कल्पनै गरेको हुँदैन, पत्तो पाउने एकदमै कम हुन्छन् ।


हामीले यस्तो घटना अमेरिकामा मात्रै हुने हो वा डेरिभेटिभ्समा मात्रै हुने हो भन्ने मुर्ख्याइँ गर्न हुँदैन । हामीले पनि देखेकै हौं, सेयर बजार चुलीमा पुगेको, घरजग्गाको भाउ आकासिएको । अहिले स्थिति ठ्याक्कै त्यस्तै छैन । बैंकको ऋण सस्तो थियो । घरजग्गामा, सेयरमा लगानी गर्न उनीहरूले सजिलै ऋण दिन्थे । देशभरका सहर र सहरोन्मुख ग्रामीण भेगमा जग्गा प्लटिङको लहर थियो । सेयर बजार परिसूचक नेप्से १९ सयको विन्दुमा पुगेको थियो । अहिले बैंकहरूमा ऋण दिनका लागि पर्याप्त पैसा छैन । घरजग्गा कारोबार सुस्ताएको छ । नेप्से १२ सयमा घुमिरहेको छ ।


ऋणले उचालेको अर्थतन्त्र थचारिन्छ । सन् १९८० को दशकमा आफ्नो आकार बराबर ऋण लिएर चलेको विश्व अर्थतन्त्र २००८ मा आइपुग्दा तेब्बर ऋण लिइरहेको थियो । मुलुक र अर्थतन्क्रका लागि जे लागू हुन्छ व्यत्तिका लागि पनि लगभग त्यही लागू हुन्छ । थाम्नै नसक्ने गरी ऋण लिएर घरजग्गामा, सेयरमा वा अरू किसिमका सम्पत्तिमा जुवा खेल्नु मुर्ख्याइँ हो । यो कुरा बुझ्न मद्दत गर्ने ‘द बिग सट’ एउटा राम्रो सामग्री हो । वित्त बजारका जटिल र झर्को लाग्ने विषयलाई बुझ्ने गरी रमाइलो प्रस्तुति फिल्मले दिएको छ ।

Page 21
Page 22
कोसेली

कठघरामा कला

हालै उपन्यास र फिल्मबारे अदालतमा चलेको मुद्दाले नयाँ बहस सृजना गरेको छ– कला–साहित्यलाई तौलिने कसरी ?

 

हाम्रो लेखकीय, प्रकाशकीय वा वैयक्तिक स्वतन्त्रताको उपभोग गर्दा अरूको वैयक्तिक प्रतिष्ठामा आँच आउने वा आघात पर्ने अवस्था देखिनु शोभनीय हुँदैन । ‘विद्वान्लाई इसारा नै काफी हुन्छ’ भन्ने कहावत पनि छ । त्यसैले ‘ऐलानी’ तथा ‘नथिया’ को अर्को संस्करण प्रकाशन गर्दा तथा अन्य कुनै साहित्य सिर्जना गर्दा सम्बन्धित व्यक्ति, वर्ग वा समुदायको भावनामा आघात नपुग्नेतर्फ विपक्षीहरू लेखक/लेखिका तथा प्रकाशकहरूको समुचित ध्यानाकर्षण हुने कुरामा यो इजलास विश्वास व्यक्त गर्दछ ।’


साहित्यको झल्को दिने माथिको अनुच्छेद सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासद्वारा जारी आदेश पूर्ण पाठको बुँदा– ३५ मा उल्लिखित छ । १५ फागुन, २०७५ मा भएको निर्देशनात्मक आदेश जारी गर्ने निर्णयपछि वादी अगुवाहरूले आफ्नो जित ठानेका थिए भने लिखित रूप बाहिरिएपछि सम्बन्धित स्रष्टाले आफ्नो घुमाउरो जित मानेका छन् ।


सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’, विवेक ओझाको ‘ऐलानी’ र दीपक वलीको चलचित्र ‘पण्डित बाजेको लौरी’ ले आफ्नो समुदायको प्रतिष्ठामाथि आँच पुर्‍याएको भन्दै वादी अगुवाहरू मीना नेपाली, केशव वादी, निर्मल वादी, गोपाल वादी, रञ्जिता नेपालीले अदालतमा ३० भदौ, २०७५ मा मुद्दा दायर गरेपछि साहित्यिक वृत्त तरंगित भयो । अदालत जानुअघि वादी अगुवाले मानवअधिकार आयोगमा समेत हारगुहार गरेका थिए । यसलाई कतिपयले सीमान्तकृत समुदायको आत्मसम्मानसँग जोडेर हेरे भने कतिपयले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासका रूपमा अर्थ्याए । यो विषयले औपचारिक बहसमा भने धेरै स्थान पाएन । बौद्धिक जमात मानसिक चेपुवामा परे सायद ! स्रष्टाको पक्षमा बोलूँ– सीमान्तकृत समुदायले दुखेको अनुभूति गरेका छन्, वादी अगुवाको पक्षमा बोलूँ— आख्यानजस्तो कल्पनाको प्रचुरता हुने विधा कठघरामा उभिने डर ।


यी रचनाले आफ्नो समुदायको अस्तित्वै नष्ट गरेको दाबीसहित वादी अगुवाले भने, ‘व्यक्तिसँग कुनै पनि विरोध होइन, व्यक्तिले उठान गरेका केही शब्द, मनसाय र मान्यतासँगचाहिँ विरोध हो । पुस्तक जलाउनुभन्दा कानुनी बाटो रोज्यौँ ।’ रचनामा प्रयुक्त केही शब्दमा आपत्ति जनाएका अगुवाहरूले भने— ६ प्रतिशतले गरेको यौन व्यापारलाई लिएर सिंगो समुदायलाई बदनाम गरियो, विवाहित वादी महिला पनि यौन व्यवसाय गर्थे भनेर भ्रष्टीकरण गरियो र वादी महिलाको शरीरलाई जसले पनि उपभोग गर्न सक्ने ऐलानी जग्गाजस्तो चित्रित गरियो । र, भनियो— चलचित्रमा देखाएजस्तो वादी प्रथा नभएर यौन शोषण हो । स्कुल–कलेजमा समेत यी रचनाको नाम लिएर वादी युवतीलाई हेप्न थालेपछि भनियो, ‘सीमित जानकारीलाई फैलाएर आत्मसम्मानमा ठेस पुर्‍याइयो ।’ वादी समुदायको संघर्षका कथा छाडेर कुनै कालखण्डको बाध्यात्मक व्यवसायलाई अतिरञ्जित गरिएको वादी अगुवाको तर्कमा बल हुँदाहुँदै प्रश्न उठ्छ— आख्यान सर्जकलाई अदालतमा उभ्याउनु युक्तिसंगत छ ?


लेखक आहुति भन्छन्, ‘आख्यान र कलात्मक सिर्जना अदालती प्रक्रियाको विषय बन्नु हुँदैन । किनभने लेखक/सर्जकले कलात्मक ढंगले आफ्नो समझदारी व्यक्त गरेको हो । कसैले महाभारतमा एक महिलाका पाँच लोग्ने किन बनाएको ? यो अत्याचार हो भनी अहिले मुद्दा हालिदियो भने के गर्ने ?’ विचार निर्माण र समाज रूपान्तरणमा कला सधैँ सशक्त माध्यम भए पनि आफैंले भौतिक रूपमा प्रहार गर्दैन । राष्ट्र नै विखण्डन हुने वा एउटा समुदायमाथि अर्को समुदायले भौतिक क्षति पुर्‍याउँदा त्यस्तो विषय प्रशासनिक बन्न सक्छ । यसको अर्थ— मानसिक चोटलाई सामान्य भनिएको होइन । वैचारिक क्रियाकलापलाई अदालती प्रक्रिया या सेन्सरको जिम्मा लगाउने कुरा सजिलो हुँदैन । सेन्सर पास भएका सामग्री न्यायको अन्तिम रूप भन्ने ठोस आधार/प्रमाण पनि हुँदैन ।


लेखक तथा पहिचान आन्दोलनका अभियन्ता राजन मुकारुङ भन्छन्, ‘यसरी मुद्दा हाल्दै जाने र कठघरामा उभ्याउँदै जाने हो भने नेपाली साहित्यका थुप्रै पुस्तक र लेखकसूची छन् हामीसँग, जसले कुनै–कुनै रूपमा अर्को जातिलाई अपमान गरेका छन् । बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटादेखि भानुभक्त आचार्यसम्मलाई मुद्दा हाल्न सकिन्छ । सुम्निमा उपन्यास जलाइएको घटना उत्ति पुरानो होइन ।’ आख्यान–सिर्जनालाई यसरी अदालतमा तानिरहेमा राज्य अर्को झन्झटमा फस्ने विचार राख्छन् मुकारुङ ।
अहिले पूर्ण पाठमा परमादेश जारी गर्नु नपर्ने उल्लेख छ । तर, यही प्रक्रियाबाट परमादेश जारी भएर शब्दमा सेन्सर हुन थालेमा के होला ? आहुति प्रश्न गर्छन्, ‘मानौँ– गरुड पुराणविरुद्ध कसैले अदालतमा मुद्दा दायर गर्‍यो र संयोगले न्यायाधीश पनि गरुड पुराणविरोधी परेमा के संशोधन गर्ने ? तातो तेल खन्याउनेको सट्टा चिसो पानीले नुहाइन्छ लेख्न निर्देश गर्ने ? महाभारत र स्वस्थानी व्रतकथालाई कसरी हेर्ने ? एकथरीले यी रचनालाई घातक मान्छन्, अर्काथरीले हाईहाई गर्छन् । घातक मान्नेले मुद्दा हालिदिए के गर्ने ?’ यस्तो विषय सर्जकहरूबीच चल्ने सिर्जनात्मक बहसको विषय हुनुपर्ने लेखकहरु ठान्छन् ।


सर्जक–सरोकारको विषय जुन बाटोबाट भए पनि अदालतको दायरामा पुग्नु घुमाउरो भाषामा स्रष्टालाई तर्साउनु हो भन्ने आहुति ठान्छन् । उनी भन्छन्, ‘सामन्तवादी व्यवस्थामा राज्यले अभिव्यक्तिमा अंकुश लगाउँथ्यो तर आज पुँजीवादीले समेत अख्तियार गरेको देखियो । सबै पुँजीवादी राज्यमा चाहिँ यस्ता परिघटना देखा पर्दैनन् । सामन्तवादी धङधङी नउत्रिएको र लोकतन्त्रका नाममा निरंकुशता ल्याउन खोज्ने समाजमा चाहिँ यस्तो प्रकारको चरित्र देखा पर्छ ।’ नेपालमै लेखे—बोलेको आधारमा व्यक्तिलाई बेपत्ता पारिएको इतिहास छ । अन्तर्राष्ट्रिय घटना हेर्दा– सलमान रुस्दी र तसलिमा नसरिनहरूलाई फतवा जारी गरेको दृष्टान्त छ, जो देशको कानुनबमोजिम गरिएको मानिन्छ ।


पछिल्लो समय सीमान्तकृतको कथा–व्यथा र उत्पीडनलाई साहित्य र सिनेमाको विषय बनाउने लहर छाएको छ । आन्दोलन, क्रान्ति र राजनीतिक परिवर्तनले उठाएका बहसले यस्तो लहर ल्याउनु स्वाभाविक हो । विषय छनोट मात्र साहित्यको केन्द्रीय चासो हुनु हुँदैन । लेखकीय विचारधारा र प्रस्तुतिले चित्रित समुदायलाई न्याय हुने–नहुने निर्धारण हुन्छ । उसो त बुझाइको भिन्नताले समेत अर्थमा तलवितल पर्छ । विमोचन कार्यक्रममा नेतृ उमा वादीले ‘नथिया’ उपन्यासलाई वादी समुदायले वेद–गीताको रूपमा ग्रहण गर्ने बताएकी थिइन् । तर, वादी इतिहासको भ्रष्टीकरणसहित आत्मसम्मानमाथि प्रहार गरेको ‘बात’ लाग्यो रचनालाई ।


राष्ट्रिय वादी परिषद्का महासचिव सुकलाल नेपाली भन्छन्, ‘इतिहास हेर्ने हो भने नाचगान, कला र सीपको धनी समुदाय हो । नाचको हामी जननी हो, वादी । आज पो रेखा थापा, राजेश हमालहरू फिल्म खेल्छन् । त्यतिबेला राजाहरूको उत्सव, विवाह, व्रतबन्धमा साइतमा अघि लाग्ने समुदाय हो वादी । यस्तो कलाको इतिहास चटक्कै छाडियो ।’ वादी अगुवाहरूको दाबी छ— यी रचनाले वादी समुदायको मूल पेसा नै यौनधन्दा हो भन्ने स्थापित गर्न खोजेको छ ।


आहुतिका अनुसार यौन पेसा वादीहरूको परम्परागत पेसा हो भनेर बुझ्नु नै गलत हो । १५/१६औँ शताब्दीमा उनीहरूलाई नृत्य र संगीतका निम्ति त्यहाँका राजारजौटाद्वारा सम्मानपूर्वक अनुरोध गरेर ल्याइएको हो । विशेष नर्तकी वादीलाई पातर भनेर सम्मान दिइन्थ्यो । पहिलेको ‘पातर’ अपभ्रंस भएर ‘पात्र’ भयो । पछि गोरखा राज्यको विस्तारसँगै भुरे टाकुरे राज्यका राजाहरूको अस्तित्व ध्वस्त भयो । पातरहरूको मुख्य जीविका नाचगानको मुख्य दर्शक या आयस्रोतको रूपमा रहेको त्यहाँको राजतन्त्र ढलेपछि वादी समुदायलाई आर्थिक समस्या पर्‍यो । नृत्य र संगीत खरिद बिक्री नभएर सामान्य विषय बन्न पुग्यो । आम जनतासँग नाचगान किन्न हैसियत थिएन । नृत्यमा पारंगतहरूको हाउभाउ या अभिनयले शासक पुरुषलाई आकर्षित गर्नु स्वाभाविक थियो । उनीहरू खेतीपातीमा निर्भर थिएनन् । आहुति थप्छन््, ‘केही उपाय नभएपछि करिब सय डेढ सय वर्षअघि बाध्यात्मक रूपमा यौन पेसा पनि गर्नुपरेको देखिन्छ । तर, उनीहरूको परम्परागत पेसा यो थिएन, जसरी माझीको परम्परागत पेसा माछा मार्नु होइन । धेरैलाई लाग्छ— माझीको पेसा माछा मार्नु थियो । नदी किनारमा बसोबास गर्ने हुनाले माझीहरू माछा मार्न र सेवन गर्न पारंगत–अम्मली थिए, जसरी पहाडका केही जातिहरू गाँजाका अम्मली थिए । तर, उनीहरूको मुख्य पेसा त्यो थियो भन्न मिल्छ ? त्यस्तै वादी जातिको परम्परागत पेसा यौन थियो भन्न मिल्दैन ।’ यसरी हेर्दा, यौन ‘पेसा’ दुर्घटनामय समयमा वादी समुदायमाथि भएको बाध्यात्मक अत्याचार थियो भन्न सकिन्छ । यस्ता विषयमा लेख्दा गहिरो अनुसन्धान नहुँदा सम्बन्धित समुदायलाई चोट महसुस हुन्छ ।


आफूमाथि अन्याय भएको महसुस हुँदा जोकोही अदालत जान सक्छन् । अदालत जानु नागरिकको अधिकार नै हो । यस्तो बेला राज्यको अभिभावकीय भूमिका हुनुपर्छ । राज्यको दायित्व हो— जनसमुदायका विविध अन्तर्विरोधलाई विभिन्न शास्त्रका विज्ञानद्वारा समस्या हल गर्नु । छलफलको विषय बनाएर सम्झाउनु–बुझाउनुपर्छ । सम्बन्धित समुदाय र लेखकमा रहेको भ्रम या दाबी छ भने छलफलबाट हल गर्न सकिन्छ ।


तर, प्रकाशनपछि समुदायलाई लेखकले नै सम्झाउँदै–बुझाउँदै हिँड्नु पनि व्यावहारिक हुँदैन, जोखिमयुक्त हुन सक्छ । समाजलाई नबुझ्दा या विश्वदृष्टिमा समस्या हुँदा लेखनमा अनेक समस्या आउँछन् । तर, समाजको वर्गीय समस्यासँग लेखेको कुरा मिलेन भन्दैमा मुद्दा हाल्नु शोभनीय नहुने लेखकहरू मान्छन् । एउटै विषयमा दुई सर्जकले लेख्दा फरक हुन्छन् । सर्जकको सीमालाई अपराध मान्न नहुने तर्क छ ।


वाक्य वा विम्ब प्रयोग गलत भएमा त्यो रचना नै कमजोर हुन्छ, अदालतमा लगेर सच्याउन खोज्नु हल गर्नै नसकिने दलदल हो । मुद्दा हाल्दै जाँदा सिर्जनाको ‘पोयटिक लाइसेन्स’ खारेज हुन जान्छ । संस्कृति मन्त्रालय, सांस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानजस्ता राज्यका अंगले यस्ता विषयमा छलफल चलाउन सक्छ । अदालतको ढोकासम्म पुगेकालाई न्यायकर्मीले भन्न सक्छ, यो सांस्कृतिक बहसको विषय बनाइयोस् । साहित्यका विषय र विम्बमा अदालतले हस्तक्षेप गरेर पार लाग्दैन । भौतिक क्रियाकलापमा सेन्सरसिप होला । अभिव्यक्तिमाथिको सेन्सरसिप मान्न सकिने विषय होइन । लामो समयदेखि चलचित्रविज्ञहरू सेन्सरसिपको विपक्षमा रहेकै छन् । तर, पूर्ण पाठमा ‘नियमनकारी भूमिका निर्वाह गर्नू’ भनी चलचित्र जाँच समितिका नाउँमा निर्देशनात्मक आदेश जारी गरिएको छ ।


सेन्सरसिपसँग अनेक प्रश्न जोडिएर आउँछन्— सच्याइएको शब्द ठीक भन्ने कसले ? लेखकलाई संशोधन गर्न मन लागे आफ्नो स्वतन्त्रताको कुरा हो । पहिलो संस्करण पढिसकेको पाठकले स्रष्टाको विरोध गर्‍यो भने के गर्ने ? लेखकलाई आफ्नो आख्यान भन्ने परेर पो यस्तो स्थिति देखा पर्‍यो । लेख्दा मात्रै लेखकको हो, प्रकाशन र पठनपछि त्यो रचना पाठकको पनि हो । त्यसपछि सार्वजनिक सम्पत्ति हुन्छ । त्यो सच्याउन मिल्ने विषय हो कि होइन ? दशकौँ अघिका रचना आजसम्म पनि सच्याउँदै गएर सम्भव होला ?

-गुरुङ सुशान्त

कोसेली

लेखनमा महिला जागरण, बजारमा बाँकी

'तोदा' र 'इति' उपन्यासपछि उमा सुवेदीको नयाँ कथासंग्रह 'सयौं पुतली' बजारमा आएको छ ।
लेखक वार्ता
- उमा सुवेदी

 

उपन्यासपछि कथा
मेरो कथासंग्रह प्रकाशन हुन लाग्दा धेरैले मलाई उपन्यास लेखिसकेर किन कथासंग्रह भन्ने प्रश्न गरेका छन् । म गजल र कविता हुँदै आख्यानमा आएकी हुँ । आख्यानमा पनि एकैपटक उपन्यासमै आएकी हुँ । विषय र त्यसको बिस्तारले कथा र उपन्यासमा फरक ल्याउने हो । बलजफ्ती कथाको विषयलाई उपन्यास या उपन्यासको विषयलाई कथामा समेट्ने प्रयास गर्दा त्यसमा असफलता नै हात लाग्छ भन्ने मेरो बुझाइ हो ।
मेरा ‘तोदा’ र ‘इति’ लाई म चाहेर पनि कथा बनाउन सक्दिनथेँ । ती उपन्यासमा मुख्य कथा एउटा भए तापनि समानान्तर रूपले अरू सहायक कथानकहरू सँगै हिँडिरहेका थिए । त्यसैले ती उपन्यास नै बने । मसित केही त्यस्ता विषयहरू थिए, जसलाई बिस्तारमा भन्नुभन्दा छोटोमा भन्नु बढी प्रभावकारी होला भन्ने लाग्यो । त्यसैले यस पटक कथाहरूमा काम गरेँ र ‘सयौं पुतली’ नामक कथासंग्रह प्रकाशित गरेँ । कथामा उपन्यासमा जस्तो सिंगो समाज या समय नआउला तर कथाले जुन शक्तिका साथ जीवनका केही आयामहरूलाई अभिव्यक्त गर्न सक्छ, त्यसको तुलना अरू विधासित हुन सक्दैन ।

प्रकाशकको दबाबमा लेखिंदैन
आजभोलि प्रकाशकले नै लेखकलाई विषय र विधा तोकेर लेख्न दबाब दिन्छन् भन्ने पनि बेलाबेला सुन्नमा आउँछ । ‘तोदा’ लेखिसकेपछि मलाई प्रकाशकले फेरि उपन्यास नै लेख भनेर दबाब दिएनन् ‘तोदा’ र ‘इति’ का प्रकाशक पनि फरक थिए । यसमा लेखकले किन लेख्ने र कसका लागि लेख्ने भन्ने कुरा पनि आउँछ । म आफ्ना कुराहरू पाठकहरूसम्म पुर्‍याउनका लागि पक्कै लेख्छु, तर मेरो सिर्जनाले पहिलो सन्तुष्टि म आफैंलाई दिनुपर्छ । लेखकले आफूलाई हैन, बजारलाई कन्भिन्स गर्नका लागि लेख्न थाल्छ भने उसलाई बजारले यो लेख् र यस्तो लेख् भन्ने दबाब दिन थाल्छ । तर लेखक आफ्नो लेखनको अर्थ र औचित्यका बारेमा प्रस्ट छ भने बजारले उसलाई पथभ्रष्ट बनाउन सक्दैन ।

हाम्रो निजत्व स्थापित हुनुपर्छ
कथामा सबैभन्दा आवश्यक त ‘कथातत्त्व’ नै होला । त्यसपछि त्यो कथातत्त्व कस्तो वैचारिक धरातलमा उभिएको छ र त्यो कथानक या विचारलाई बोक्ने कस्ता चरित्रहरू निर्माण गर्छौं भन्ने कुराले कथालाई बलियो बनाउँछ भन्ने मलाई लाग्छ । मेरो खोजी सदैव त्यही दिशामा छ । विगतमा गुरुप्रसाद मैनाली, बीपी, पुष्करशमशेर, मनु ब्राजाकी, प्रेमा शाह, माया ठकुरी, बेन्जु शर्मा, मञ्जु काँचुली हुँदै सीता पाण्डेलगायत समकालीन धेरै लेखकहरूले समृद्ध गराएको कथा परम्परा हो हाम्रो । हामीले अब तिनकै पदचिह्नलाई पच्छाएर लेख्नुको अर्थ छैन । हाम्रो लेखनबाट यो समय र हाम्रो निजत्व पनि स्थापित हुनु जरुरी छ ।


साहित्य जगत् सधैं वैकल्पिक चिन्तनबाट नै अगाडि बढ्ने हो । ढंग पुर्‍याएर लेखिएको यथार्थले आफ्नो समयको छटपटी, असन्तुष्टि र आक्रोश अझिव्यक्त गर्छ । आत्रोश भनेकै स्थापित मान्यताविरुद्धको वैकल्पिक प्रस्तुति हो । स्वैरकल्पना, फ्यान्टेसी या सर्रियल भन्ने कुरा यथार्थलाई अभिव्यक्त गर्ने कलाकौशल मात्र हुन् । साहित्यमा समय र समवेदना महत्त्वपूर्ण कुरा हो । त्यसैले यी कुरालाई अभिव्यक्ति दिन लेखकलाई कुन माध्यम सजिलो लाग्छ, त्यसैमा काम गर्दा उसको लेखन बढी विश्वसनीय हुन्छ । ढंग पुगेन भने त आँखैअगाडि देखिएको यथार्थलाई अभिव्यक्त गर्दा पनि अतिरञ्जित भैदिन्छ ।

लेखनमा जागरण, बजारमा बाँकी
पछिल्लो समय साहित्यमा महिला लेखनको जागरण आएको छ । बजारसम्म त्यसको प्रभाव टड्कारो देखिइहालेको स्थिति भने अलिक छैन । लेखनको बजार चेतनाहीन व्यक्ति या पाठकबाट निर्माण हुने त पक्कै होइन । त्यसैले महिला लेखकमा आएको यो जागरणको प्रभाव ढिलोचाँडो किताबका पाठकहरूसम्म पनि पुग्छ । मलाई अहिले नै महिला लेखकका हजारौं हजार पाठक भएनन् भनेर दुःखित भइहाल्ने बेला भयोजस्तो लाग्दैन । हामीसित निर्माण भएको चेतनाको ऊर्जार् हामीले आफ्नै लेखनलाई अझ चेतनासम्पन्न, कलात्मक, शक्तिशाली र विश्वसनीय बनाउनमा लगाउनुपर्छ ।


यो महिला जागरणका लागि अग्रसर हुने युग हो । जागरणका लागि हामीले आफ्ना कुरा र अनुभूतिहरू जतिसक्दो बढी संख्यामा भन्नुपर्छ । यतिबेला हामीलाई संख्या र गुणस्तर दुवै चाहिएको छ । यी दुवैको सन्तुलन मिलाउन हामीले सक्दो मिहिनेत गर्नैपर्छ । आजसम्म नेपाली साहित्यमा देखिएको समाज मूलतः पुरुषको आँखाबाट हेरिएको समाज हो । अब हामी महिलाले आफूले देखेको समाजका कुराहरू आफैंले भन्ने बेला आएको छ । त्यसपछि मात्र नेपाली साहित्य एकांकी चिन्तनबाट मुक्त हुन्छ र नेपाली साहित्यको समृद्ध स्वरूप देखापर्छ ।

कोसेली

पुस्तक वार्ता

राजनीतिशास्त्री
- चन्द्रदेव भट्ट

 

पराग खन्नाको ‘द फ्युचर इज एसियन ः ग्लोबल अर्डर इन ट्वान्टीफस्ट सेन्चुरी’ र इ. पोक्कोको ‘इन्डिया इन ग्रिस’ पढ्दै छु । अहिलेको एसियाको आर्थिक र राजनीतिक पुनरोदयको विषयमा विभिन्न क्षेत्रमा बहस भएको पाइन्छ । यो बहस विश्वव्यापी भएर गएको छ । पराग खन्नाले वर्तमान र भविष्यको एसियाको आकलन गर्छन् भने इ. पोक्कोले विगतको विषयमा अंग्रेजी भाषा र सामाजिक विज्ञानको ढाँचामा जानकारी राख्न उपयोगी सावित हुन सक्छ । कुनै पनि क्षेत्र/देश किन अगाडि जान्छ र पछाडि पर्न जान्छ त्यसको विषयमा थाहा पाउन विगत र वर्तमान दुवैको विषयमा जानकारी हुनु जरुरी हुन्छ । यी जानकारीहरूको अनुपस्थितिमा भविष्यको विषयमा केही भन्न सकिँदैन । यसलाई कुनै विषयको बारेमा जान्ने आधार बनाउने हो भने यी दुवै पुस्तक उपयोगी हुन सक्छन् । खन्नाको ‘द फ्युचर इज एसियन’ पुस्तकले विश्वराजनीतिमा आएको परिवर्तन र एसियामा देखिएको र देखिन सक्ने उथलपुथलको विषयमा फरक हिसाबले चर्चा गर्छ ।


विश्व राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई व्याख्या गर्ने विद्यमान शास्त्रीय परिपाटी जुन नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक किशोर मेहवुवानीले मिनिमालिस्ट, मल्टिलेटरल र माइकेभेलियनमा आधारित त्रिशब्दीय व्याख्याको आधार भन्दछन्, खन्नाको पुस्तक यो ढाँचाभन्दा बाहिर गएको पाइन्छ । साँच्चै भन्ने हो भने खन्नाले अहिले विश्व अर्थराजनीतिमा प्रभाव पारेका तत्त्वहरू विशेषगरेर विद्युतीय प्रविधि, बसाइसराइ, आवतजावतका साधनहरू (कनेक्टिभिटी), जनसंख्याले दिने फाइदा, भूगोलले दिने सुविधा, विगतको इतिहास आदि इत्यादिलाई आधार बनाएर वस्तुपरक रूपमा एसियाको सम्भावित भविष्यको विषयमा छलफल गरेका छन् । समष्टिगत रूपमा यो पुस्तक किनेर पढ्दा त्यति घाटा नलाग्ला । भाषा सरल नै छ, सूचना पनि प्रशस्त छन् । अन्यथा धेरैजसो पुस्तक किन्दा लेखक मोटाउने र पाठकलाई ज्ञानको चिनी रोग लाग्ने गर्छ ।


त्यसैगरी ‘इन्डिया इन ग्रिस’ भन्ने पुस्तकले आर्यवर्तको विगतको संस्कृति र परम्परा र त्यसको ग्रिक सभ्यतामाथि पर्न गएको असर/प्रभावको विषयमा उत्कृष्ट रूपमा व्याख्या गरिएको छ । माथि भने जस्तै भारतवर्षको सांस्कृतिक धरोधरको विषयमा जानकारी लिन यो पुस्तक अग्रपंक्तिमा पर्न जान्छ । जसको विगत गौरवमय छ त्यसको भविष्य पनि गौरवमय नै हुन्छ भन्ने पक्षलाई यसले पुष्टि गर्छ । यो पुस्तक कुनै समयमा ब्रिटिसहरूले दुर्लभ बनाएका थिए किनभने यसले आर्यवर्तको गौरवशाली संस्कृतिले विश्वव्यापी रूपमा पारेको संस्कृतिको विषयमा व्याख्या गरेको जुन साम्राज्य विस्तार गर्नका लागि बाधक हुन जान्छ ।


पश्चिमको प्रगतिले एसियालाई फाइदा होइन
भारत र चीनलाई केन्द्रविन्दु बनाएर लेखिएका अनगिन्ती पुस्तकहरूको निचोड एउटै देखिन्छ– ‘पश्चिमले विज्ञान, प्रविधि र बजारमा गरेको प्रगतिको प्रतिफल अब एसियाका नागरिकहरूले पनि उपभोग गर्नेछन् । र, एसियाका मुलुकहरू पनि आर्थिक रूपमा सम्पन्न हुनेछन् ।’ अर्थात् एसियाको उदय पनि हामीले गर्दा नै हुनेछ भन्ने तर्कलाई दरो रूपमा राखेर धेरैजसो पुस्तकहरू प्रकाशनमा आएका छन् । एसियाको पुनरोदय भन्न उनीहरू तयार छैनन् । त्यो भनेको विगतलाई मान्यता नदिनु हो । यो अर्धसत्य हो । जबकि एसियनहरू र एङ्गुस मेडिसनजस्ता अर्थशास्त्रीहरू यहाँको विगतलाई असल र सफल देख्छन् । यो सत्यलाई पराग खन्नाले उदाहरणसहित राम्रोसँग उजागर गरेका छन् ।


एसियाको विगत (त्यसमा पनि भारतवर्षको) को विषयमा जानकारी लिन थप दुईवटा पुस्तक अध्ययन गर्नु जरुरी हुन्छ ः पहिलो मार्क ट्वाइनका भारतवर्षमाथि लेखिएका कृतिहरू र दोस्रो सिरिन नर्थकोट पार्किसन्सद्वारा लिखित ‘इस्ट एन्ड वेस्ट’ । एसियाका लेखकहरूले पनि धेरै पुस्तकहरू लेखेकाछन् । हाम्रो विडम्बना के छ भने हामी हाम्रैलाई विश्वास गर्दैनौं । साँच्चै भन्ने हो हामी हाम्रो ज्ञानलाई विस्थापित गर्दै बाहिरको ज्ञानलाई स्थापित गर्दै छौं । बाहिरबाट प्रकाशित पुस्तक र ज्ञानको विषयमा जानकारी राख्नु जरुरी हुन्छ तर त्यसैलाई सत्य देख्नु र आफ्नो सबै नराम्रो देख्नु हानिकारक हुन्छ । यो परम्परा आज हामीकहाँ ज्यादै बलियो भएर आएको छ । सायद हाम्रा विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठान र अन्य प्रकाशन गृहहरूले ज्ञान उत्पादनमा अग्रणी भूमिका खेल्न सके यो क्षेत्रमा देखिएका कमीकमजोरी न्यून भएर जानेछन् । जबसम्म हामी आफैंले आफ्ना कथा र व्यथाहरू लेख्दैनौं तबसम्म हामीलाई अरूले हेर्ने दृष्टिकोण परिवर्तन हुँदैन । पछिल्ला वर्षहरूमा लेख्ने परम्परामा निकै सुधार आएको छ । उपन्यासहरू, कथा–कविताहरू, आत्मकथाहरू प्रकाशित हुँदै छन् तर हाम्रो समस्या भनेको मौलिकतामा ह्रास आएको छ ।


विदेशीको ज्ञानको भारी धेरै बोकियो
धेरैजसो पुस्तकहरू म पुस्तक पसलहरूबाटै किन्ने गर्छु । कहिलेकाहीं साथीभाइ र प्रियजनहरूले बाहिरबाट पनि ल्याइदिने गर्छन् । यी पुस्तकहरू पनि यसरी नै प्राप्त भएका हुन् । पुस्तकको विषयमा उपयुक्त जानकारी भएन भने यसले ठूलो समस्या जन्माउन सक्छ । किनकि अहिलेको युगमा पुस्तक प्रकाशन गर्नु भनेको ज्ञानको उत्पादन पटक्कै होइन । त्यो धेरै हदसम्म समाजमा आफm्नो विचारधारा, शक्ति र वर्चस्व कायम गर्न चाहिने आवश्यक सूचना शत्तिशाली रूपमा प्रक्षेपण गर्नु हो । अहिले पुस्तक पढ्ने भनेको प्रभावशाली लेखकहरूले सूचनालाई कसरी प्याकेजिङ गरेका छन् भन्ने विषयमा थाहा पाउनका लागि होजस्तो लाग्छ तर यी सबै विषयमा थाहा पाउनका लागि पूर्वअनुसन्धान गर्नु जरुरी हुन्छ र यसका लागि धेरै उपायहरू छन् । पत्रपत्रिकामा प्रकाशित पुस्तक समीक्षा पढ्नु जरुरी हुन्छ ।


नेसनल युनिभर्सिटीका प्राध्यापक किशोर मेहवुवानी आफ्नो पुस्तक ‘हेज द वेस्ट नस्ट’ (पेज ८८–८९) मा लेख्छन् संसारको ७.१२ बिलियन जनसंख्यामा ४.४३ बिलियन एसियनहरू छन् तर ‘न्युयोर्क रिभ्यू अफ बुक्स’ मा समीक्षा गरिने पुस्तकहरूमा एसियनहरूको नाम विरलै भेटिन्छ । प्रसिद्ध लेखक अमिताभ घोषलाई उद्धृत गर्दै उनी लेख्छन्– घोषले एउटा निर्देशित खाकामा लेख्न नमानेपछि अर्को प्रसिद्ध म्यागाजिन ‘न्यू योर्कर’ ले उनका कृतिहरू नै छाप्न छोड्यो । यी उदाहरणहरू यहाँ प्रस्तुत गर्नुपछाडिको उद्देश्य के हो भने पुस्तक प्रकाशन गर्नु भनेको आफ्ना विचारहरू, आफ्ना कथाहरू, व्यथाहरू र समाजको चित्रण आफ्नै तरिकाले गर्नु जरुरी हुन्छ भन्ने कुरालाई पुष्टि गर्नु हो । तर विडम्बनासाथ भन्नुपर्छ हाम्रा कथा, हाम्रो समाज, इतिहास र संस्कृतिलाई अरूले विकास गरेको फ्रेमवर्कको आधारमा गर्ने गर्छौं जसले गर्दा हाम्रो आफ्नै ज्ञानको दायरा कमजोर हुन जान्छ भने अर्को समाजको पनि अपव्याख्या हुन जान्छ ।

Page 23
कोसेली

पुनरागमन उड्सको

- हिमेश

टाइगर उड्सले अगस्टामा मास्टर्स उपाधि के जिते, एकपछि अर्को घटना यति चाँडै भइरहेको छ कि भनेर साध्य छैन । जस्तो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरिसके, उनलाई ‘प्रेसिडेन्टल मेडल अफ फ्रिडम’ सम्मान दिने भनेर । अमेरिकी जनताले पाउने यो नै सबैभन्दा ठूलो सम्मान हो । यसका लागि ट्रम्पले उड्ससँग फोनमा कुरा पनि गरे र बधाई दिए । ट्रम्प आफैं पनि गल्फका ठूला पारखी हुन् । गल्फ भनेपछि हुरुक्क हुन्छन् ।


उड्सले पनि ट्रम्पको प्रस्ताव अस्वीकार गर्नुपर्ने कारण नै के हुन्छ र ? सुरुका दिनमा उड्सले गल्फ खेल्न सुरु हुँदा उनको नाममा सट्टा बजारमा एउटा बाजी परेको थियो । त्यो थियो, कुनै न कुनै दिन उड्स अमेरिकाका राष्ट्रपति हुनेछन् । त्यो पनि पहिलो अश्वेत राष्ट्रपति । बाराक ओबामा राष्ट्रपति भएपछि अब कम्तीमा यो त सम्भव भएन । सायद उड्स आफैं पनि राष्ट्रपति बन्ने बाटोमा लाग्ने छैनन् । तर, उनले मास्टर्स जित्दै गल्फको १५ औं मेजर टाइटल्स हात पारेपछि लाग्न थालेको छ, सम्भावना त जसको जे पनि हुन सक्छ ।


साँच्चै उड्सले यस्तै काम गरेका छन् । अब उनी पनि कुनै दिन साँच्चै अमेरिकाको राष्ट्रपति बने, किन पो आश्चर्य मान्ने र ? अहिले तत्काल भने गल्फमा प्राप्त गरेको यो उपलब्धिका लागि प्रयोग गरिएका शब्द हुन्, विश्व खेल इतिहासकै सबैभन्दा ठूलो पुनरागमन । यो अविश्वसनीय त छ नै, अकल्पनीय पनि उत्तिकै छ । अब खेलकुदमा मात्र होइन, कसैको जीवन पनि केही यस्तै अपत्यारिलो घटना भयो भने भन्ने गरिनेछ, यो त उड्सको पुनरागमनजस्तै भयो ।

साँच्चै पुनरागमन
खासमा यो पुनरागनम के हो त उड्सको ? फुटबलमा पेले अथवा म्याराडोना, बक्सिङमा मोहम्मद अलि जत्तिकै नाम हो, टाइगर उड्सको । सन् २००८ मा उनले यूएस ओपन जित्दासम्म सबै ठीक थियो । खेल्यो कि जित्यो खाले थिए, उनी । त्यो पनि एकपछि अर्को कीर्तिमानसहित । पछि उनका लागि सबथोक बिग्रन थाल्यो । मैदानमा पनि, बाहिर पनि । अहिले ४३ वर्षका भए । केही समयअगाडिसम्म स्थिति कस्तो थियो भने उनले कुनै दिन राम्रोसँग हिँड्नेमा पनि शंका थियो ।


अब यही मान्छेले ८३ औं संस्करणको मास्टर्स जितेका छन् । उनले ७२ होलको प्रतियोगितामा १३ अन्डर २ सय ७५ को स्कोर निकाले । अन्तिम दिन उनको प्रदर्शन थियो, २ अन्डर ७० । ‘अहिले जे जस्तो भएको छ, म आफैंलाई पनि विश्वास भइरहेको छैन । कुनै समय हिँड्न पनि सक्दिन थिएँ, निद्रा पनि विरलै लाग्थ्यो । खासमा मैले केही नि गर्न सकिरहेको थिइनँ,’ पुराना दिन सम्झेर उड्सले भनेका छन्, ‘यस्तोमा अहिलेको जितलाई कसरी विश्वास गर्न सक्छु र ?’


विश्व खेल इतिहासमै उड्सको यो जितलाई महान् पुनरागमन भन्न सुरु भएको छ । सबैभन्दा पहिला उनको व्यक्तिगत जीवनतर्फ नै जाऔं न । ती पुराना दिन सम्झेर उड्सले एकपल्ट भनेका छन्, ‘मैले ती सबै काम गरें, जुन परिवारमा न त क्षमायोग्य हुन्छ, न यसलाई बिर्सन सकिन्छ ।’ सन् २००३ मा उड्सले एलिन नोरडेग्रेनसँग ‘इन्गेजमेन्ट’ गरेका थिए । यी नोरडेग्रेन हुन्, स्विडेनी मोडल । उनको परिवार स्विडेनी राजनीतिमा हाई–प्रोफाइलमै पर्छ । २००४ मा उनीहरूको विवाह पनि भयो । २००७ मा उनीहरूको पहिलो छोरी जन्मिइन्, नाम राखियो, साम एलेक्स उड्स । दोस्रो सन्तान छोरा । नाम थियो, चार्ली एक्सेल उड्स । सबै कुरा राम्रै भइरहेको थियो । उनीहरूको जोडीलाई आदर्श मान्ने पनि थिए । भित्र–भित्र भने त्यस्तो थिएन । उड्सका दुइटा अनुहार थिए । देखाउने एउटा, लुकाएर राखेको अर्को ।


२००९ मा ‘नेसनल इन्क्वारियर’ ले एउटा समाचार छाप्यो, जसमा दाबी गरिएको थियो— उड्सको बाहिर पनि प्रेम चलिरहेको छ ! सुरुमा त उड्सले हुँदै होइन भने अस्वीकार गरे । लगत्तै उनी गाडी दुर्घटनामा परे । बिस्तारै उनको निजी जीवन काण्डै–काण्डमा समाचारमा परिणत हुन थाल्यो । ‘यूएस विक्ली’ ले त उड्स कति धेरै व्यभिचारी छन् भनेर लामै समाचार छाप्यो र त्यसमा उनीसँग जोडिएका धेरै महिलाको नाम अगाडि आयो । केही महिला आफैं अगाडि आएर बोले । उनीहरूको दाबी थियो, कुनै न कुनै समय उनीहरू उड्ससँग जोडिएका छन् । त्यसमध्ये अधिकांशको दाबी थियो— उड्स यौनपिपासु नै हुन् ।


यी काण्ड बाहिर आएपछि उड्ससँग जोडिएका ब्रान्डहरू अलग्गिन थाले । उनले करोडौं डलरका अनुबन्ध गुमाउँदै गए । पछि उड्सको नोरडेग्रेनसँग पारपाचुके भयो । नोरडेग्रेनको पनि आरोप थियो— बाहिरबाट हेर्दा उड्स जति भलाद्मी देखिन्छन्, खासमा त्यस्ता पटक्कै छैनन् । यी सबै घटनाले उनको पूरा जीवन लथालिंग नै भयो । उनले आफ्नो व्यक्तिगत जीवनलाई सम्हाल्नै सकेनन् । यसैबीच उनी रक्सी खाएर गाडी चलाएको आरोपमा पनि समातिए, फ्लोरिडामा । त्यतिबेला अभियुक्तका रूपमा फ्लोरिडा प्रहरीले जारी गरेको उनको तस्बिर पनि खुबै चर्चित रह्यो । त्यसमा उनको अनुहार नराम्रोसँग सुन्निएको थियो । उनी पूरापूर डरलाग्दा अभियुक्त नै देखिन्थे । यो घटनाले उनको साख अझ गिरेको थियो, मान्छेले उनलाई पत्याउन छाडे ।


भनिरहनु पर्दैन, व्यक्तिगत जीवनमा आएको उतारचढावले उनको खेल पूरै प्रभावित रह्यो, उनको प्रदर्शन दिनानुदिन खस्कँदै गयो । उनी त्यस्ता खेलाडी रहेनन्, जसलाई पेले, म्याराडोना अथवा अलिको समकक्षीमा राख्नुपर्थ्यो । यी सबै घटना भइरहँदा उनलाई शरीरले पनि साथ दिन छाड्यो । उनको मेरुदण्डमा गम्भीर समस्या देखिएको थियो । त्यसको उपचारका लागि उनी धेरैपल्ट शल्यक्रियाबाट पनि गुज्रिए । बल्लतल्ल शारीरिक रूपमा निको भए र गल्फ खेल्न सक्नेसम्म बने ।

पूरा भएको एउटा चक्र
जति बेला उड्सले अगस्टामा जित्ने तय भयो, उनको अनुहारको खुसीको सीमा थिएन । दर्शक उनको नाम लिएर चिच्चाइरहेका थिए । त्यसै पृष्ठभूमिमा उनले आफ्नी आमा कुलतिडा, छोरी साम र छोरा चार्लीलाई अंगालो मारे । सन् १९९७ मा उड्सले पहिलोपल्ट मास्टर्स जित्दा गल्फ कोर्समा उनका बुबा एर्ल पनि थिए । पहिलो मेजर टाइटल्स जितेपछि उड्सले त्यति बेला आफ्नो बुबालाई त्यसरी नै अंगालो मारेका थिए, जसरी अहिले आमा, छोरी र छोरालाई अंगालो मारे । उनको प्रतिक्रिया थियो, ‘एउटा चक्र पूरा भएको छ ।’ उनले जुन विन्दुबाट सुरु गरेका थिए, फेरि उनी त्यही विन्दुमा आइपुगे । अथवा भनौं, सुरुमा उनी राम्रा थिए, पछि केही खराब भए । अब फेरि राम्रो भएका छन् । उनको परिवार पनि फेरि उही पुरानै स्थितिमा पुगेको थियो, एक ढिक्का र पूर्णतः उड्सको समर्थनमा ।


एर्ल अमेरिकी अश्वेत हुन्, जसले अमेरिकी सेनाका प्रतिनित्व गर्दै भियतनाम युद्धमा सहभागी भए । थाइल्यान्डमा ड्युटी गर्ने क्रममा उनले कुलतिडालाई भेटेका थिए र पछि उनीहरूको विवाह पनि भयो । कुलतिडा आधा थाई हुन्, एक चौथाइ चिनियाँ र बाँकी एक चौथाइ डच । सुरुआती दिनमा आमाले उड्सलाई धेरै अवसरमा थाइल्यान्ड लगिन् र त्यहाँको संस्कृतिमा भिजाउने प्रयास गरिन् । उड हुर्केकै थाई–बौद्ध संस्कारमा हो । उड्स आफूलाई बौद्धमार्गी भन्न रुचाउँछन् । सन् १९९६ मा २० वर्षको उमेरमै व्यावसायिक खेलाडी बनेका उड्सलाई यो खेल सिकाउने काम अरू कसैले होइन, उनकै बुबाले गरेका थिए । बुबा नै प्रशिक्षक भन्दा हुन्छ, उड्सको ।


एर्ल पछि मुटुका बिरामी भए र चिकित्सकले हुन्न भन्दा पनि छोराले खेलेको हेर्न जान्थे । सन् २००६ मा उनको निधन भयो । ‘अहिलेको जित मेरो परिवारका लागि हो,’ उड्सले अगस्टामा बारम्बार दोहराइरहे । उनको भनाइ थियो, ‘मेरा छोरी र छोराले मैले खेलेको देखे । मैले जितेको पनि देखे । उनीहरूलाई अब त आफ्नो बुबाप्रति गर्व हुनेछ । उनीहरूको आजको दिन कहिल्यै बिर्सने छैनन् र यसलाई सधैं आफ्नो मनमा राखिरहेका छन् ।’

नजर निकल्सको कीर्तिमानमा
यी त भए, सबै उड्सका व्यक्तिगत र भावनात्मक कुरा । विश्व गल्फ भने एउटा अर्को कारणले पनि उत्साहित छ र प्रश्न उठन थालेको छ— के उड्सले अब १८ औं मेजर टाइटल्सको कीर्तिमान छुने प्रयास गर्नेछन् त ? ज्याक निकल्सको नाममा रहेको छ, यो कीर्तिमान । यो यस्तो कीर्तिमान हो, जसलाई कहिल्यै भंग नहुने प्रदर्शनका रूपमा मानिन्छ । उड्सले अगस्टामा के जित हात पारे, उनलाई पनि छाडेन, यो प्रश्नले ।
उड्सको भनाइ पनि यस्तो थियो, ‘मैले त यसबारे सोचेकै छैन । सायद अब सोच्ने को कि ? म त अहिले १५ औं उपाधिमै रमाइरहेको छु ।’ निकल्स स्वयंले पनि यसबारे बोलेका छन् र उनलाई लाग्छ, आफ्नो कीर्तिमान कि त उड्सले नै तोड्छन्, होइन भने कसैले तोड्ने छैन । खासमा १९९७ मा उड्सले पहिलो मास्टर्स जितेदेखि सन् २००८ को यूएस ओपन जित्दासम्म यसरी खेले कि सबैलाई लागेको थियो, त्यो १८ औं मेजर टाइटल्सको उपाधि अब धेरै टाढा छैन । त्यसैपछि त सुरु भएको थियो, उड्सको अविश्वसनीय र अकल्पनीय पतन । यो पतन पनि कस्तो भने केही समयपछि धेरैले के मान्न थाले भने उड्सले अब अर्को मेजर टाइटल्स कहिले पनि जित्ने छैन ।


खेलकुदको मज्जा नै यही, यहाँ यस्तो धेरै हुन सक्छ, जसबारे सोचिएको हुन्न, अथवा कल्पना गरिन्न । उड्सले अहिले त्यस्तै काम गरेका छन् । हुन सक्छ, अबको केही वर्षमा उड्सले निकल्सलाई बराबरी गर्नेछन्, उछिन्ने पनि । उनका लागि यहाँसम्म पुग्नु पनि ठूलै हो ।
twitter: @himeshratna

कोसेली

जाग्यो आयाक्स

धनी ३० क्लबभित्र पनि नपर्ने आयाक्स कसरी ॅजायन्ट किलर’ भएर निस्किइरहेको छ ?
- राजु घिसिङ

पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होको म्यानचेस्टर युनाइटेडले युरोपा लिग २०१७ को फाइनलमा आयाक्सलाई हराएर युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता जितेको थियो । इंग्ल्यान्डको महारथी युनाइटेडका लागि त्यो जित सानदार होइन, विश्वकै सबभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा पुग्ने बाटो मात्रै थियो । आयाक्सको लागि भने दोस्रो दर्जाको प्रतियोगितामा फाइनल पुग्नु पनि नसोचिएको उपलब्धि थियो । फेरि त्यो स्तरको सफलता आयाक्सबाट सोचिएको थिएन ।


स्टकहोम (स्वीडेन) मा फाइनल खेलेपछि डेभिन्सन सान्चेज डेभी क्लासेन प्रिमियर लिग खेल्न इंग्ल्यान्डतिर लागे । पछिल्लोपल्ट जस्टिन क्लाइभर्टले पनि इटालियन सिरी ‘ए’ खेल्ने निर्णय लिए । अरू खेलाडीले अर्को एक वर्ष सँगै टिममा खेल्ने वाचा गरे । उनीहरूले के गर्न सक्छन् भन्ने चासो बढ्यो ।


जस्टिनका बुबा प्याट्रिक क्लाइभर्टको गोलमा एसी मिलानलाई हराएर आयाक्सले सन् १९९५ को च्याम्पियन्स लिग जितेको थियो । आयक्सको पछिल्लो युरोपेली उपाधि त्यही हो । अर्को वर्ष पनि आयक्स फाइनल पुगेपनि उसलाई च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पहिलो टिम हुनबाट युभेन्टसले रोक्यो । एड्गर डेभिड्स, क्लाइभर्ट, क्लारेन्स सिडोर्फलगायत आधा दर्जन खेलाडी ठूला क्लबतिर लागेपछि १९९७ को सेमिफाइनलमा आयाक्सले युभेन्टसलाई समग्रमा ६–२ ले नतिजा सुम्पिएको थियो ।


त्यसैले अविश्वसनीय रुपमा युरोपा लिग २०१७ को उपविजेता भएको आयाक्सले फेरि गतिलो प्रदर्शन गर्ने सोचिएको थिएन । यो सिजन च्याम्पियन्स लिगको नकआउटमा रियल म्याड्रिड र युभेन्ट्सलाई सिकार बनाएर आयाक्सले दुई वर्षअघिको प्रदर्शनलाई युरोपमा फेरि उदाएको संकेत भएको सावित गर्‍यो । रियलले गत वर्ष फाइनलमा युभेन्ट्सलाई हराएर कीर्तिमान १३ औंपल्ट युरोपेली उपाधि कब्जा गरेको थियो । दुवै क्लबलाई यो सिजन आयाक्सले स्तब्ध बनायो ।


आयाक्स आम्सटर्डममा भएको अन्तिम १६ को पहिलो लेगमा रियलविरुद्ध २–१ ले पछाडि परेको थियो । उसले म्याड्रिडमा भएको दोस्रो लेग ४–१ ले कब्जा गर्दै रियलको लगातार चौथोपल्ट च्याम्पियन बन्ने सपना उडाइदियो । क्वाटरफाइनलमा आयाक्सले प्रतिद्वन्द्वी पायो, युभेन्ट्स । लगातार आठौंपल्ट इटालियन च्यिाम्पियन बन्ने संघारमा आइपुगेको ‘ओल्ड लेडी’ हावी हुने अनुमान गरिएको थियो । दुई घन्टा (दुई लेग) को खेल त्यस्तो भएन । आम्सटर्डममा १–१ भयो । टुरिनमा २–१ को जित निकाल्दै आयाक्स २२ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनल पुग्यो ।

वास्तवमा रियल र युभेन्ट्सविरुद्ध आयाक्सको जित नसोचिएको नतिजा हो । खेलाडीको स्तर, अनुभव र क्लबको लगानीको आधारमा ती दुई धनाढ्यसँग आयाक्सको तुलनै हुँदैन । यसपाली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका आयाक्सबाहेक अरू सात टिम विश्वकै सबभन्दा धनी क्लबको सूची ‘डेलोइट मनी लिग’ को शीर्ष ११ भित्र छन् । नम्बर १ हो रियल । ११ औंमा छ युभेन्ट्स । रियलले २०१७–१८ मा ७५ करोड नौ लाख युरो र युभेन्टस ३९ करोड ४९ लाख आर्जन गरेको थियो ।


धनाढ्यहरूको प्रतियोगितामा आयाक्सले चमात्कारै गरिदियो । आयाक्सले समूह चरणमा बायर्नविरुद्ध दुवै खेल बराबरी गर्‍यो । जर्मन महारथी बायर्न यस्तो क्लब हो जो पछिल्लो सिजन ६२ करोड ९२ लाख युरो कमाएर डेलोइट मनी लिगको चौथोमा रहेको थियो । आयाक्स धनी क्लबको सूचीमा ३० भित्र पनि पर्दैन । त्यसर्थ उसको कमाई १५ करोड युरो पनि छैन । पछिल्लो सिजन ९२ लाख युरोको बजेटमा चलेको डच क्लबले पैसाको खोलो बगाइरहेका रियल र युभेन्ट्सविरुद्ध सनसनीपूर्ण खेल देखायो । उसले दुवै टिमविरुद्ध पहिलो लेगमा ४–५ गोल गरेको भएपनि त्यो अन्तर खेलअनुसार न्यायोचित थिएन भन्ने अवस्था थिएन । रियल, युभेन्ट्स र बायर्नको अनुभव र लगानीलाई आयाक्सका युवा खेलाडीको जोसले मत्थर पारिदियो ।


लियोनल मेसी प्रेरित बार्सिलोना चाहिएको बेला उत्कृष्ट प्रदर्शन गरेर युरोपमा म्यानचेस्टर युनाइटेडको हैसियत उदांगो पार्दै सेमिफाइनल पुग्यो । टोटेनहमले स्टार खेलाडीको बर्चस्व रहेको म्यानचेस्टर सिटीलाई रोमाञ्चले भरिएको खेलमा पन्छाउँदै पहिलोपल्ट अन्तिम चारको यात्रा तय गर्‍यो । यर्गेन क्लोपको लिभरपुललाई भने पोर्टोको चुनौती पार गर्न गाह्रो भएन । अब फाइनल प्रवेशको लागि आयाक्सको निशाना बनेको छ टोटेनहम ।


आयाक्सले सेमिफाइनल यात्रा तय गरेसँगै आफ्नो बजेटलाई तीन गुणा बृद्धि गर्ने अवसर पाएको छ । अर्बपति अग्नेली परिवारको स्वामित्व रहेको युभेन्ट्सको सेयर बजारमा च्याम्पियन्स लिगबाट बाहिरिएको भोलिपल्टै १६ प्रतिशतले गिरावट आयो । आयाक्सको सेयर भने ८.५ प्रतिशतले उकालो लागेको ब्लुमबर्गले जनाएको छ । बुधबारको सेयर बजारअनुसार आयाक्स ३४ करोड १० लाख युरोको कम्पनी हो भने युभेन्ट्स एक अर्ब ४० करोडको । रियलबाट क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएर पनि युभेन्ट्सको १९९६ यता युरोपेली च्याम्पियन बन्ने अभियान फेरि अधुरै रह्यो । उसले शीर्ष ५ लिगबाहिरको क्लबबाट युरोपमा १९८२ यता पहिलो हार बेहोरेको हो ।


आयाक्सका प्रमुख कार्यकारी अधिकृत एडविन भान डेर सार आफ्नो क्लब आर्थिक रूपमा पछाडि रहे पनि फुटबलको लागि ठूलो नाम भएको बताउँछन् । आयाक्स चारपल्टको युरोपेली च्याम्पियन हो । उसले सत्तरीको दशकमा तीन उपाधि जितेको थियो भने त्यसपछि लुइस भान हालले सम्हालेको टिमले १९९५ मा । पछिल्लो सफलतामा भान डेर सार गोलकिपर थिए । मिडफिल्डमा रहेका मार्क ओभरमार्स अहिले आयाक्समा फुटबल निर्देशक ुहन् । यो सिजन आयक्सको यात्रामा यी दुईले एकसाथ खुसी मनाइरहेका छन् ।


लोभलाग्दो खेल
मनै लोभ्याउने खालको ‘टोटल फुटबल’ डच प्रशिक्षक मिचेल राइनसले आयाक्समा सन् १९६० को दशकमा सुरु गरेका थिए । उनको रणनीतिलाई मैदानमा उतार्ने मुख्य खेलाडी थिए, योहान क्रुफ । त्यही शैलीमा लोभलाग्दो खेल पस्किदै आयाक्सले १९७१, ७२ र ७३ मा युरोपेली उपाधि उचालेको थियो । नेदरल्यान्ड्स दुईपल्ट विश्वकपको फाइनल पुगेको पनि त्यही शैलीमा हो । राइनस र क्रुफ बार्सिलोना लागेपछि आयाक्स सुस्तायो । क्रुफले प्रशिक्षकको रूपमा टोटल फुटबलको अभ्यास पनि आयाक्सबाटै गरे । पछि बार्सिलोनामा सारे, जहाँ उनका खेलाडी थिए पेप ग्वार्डिओला । ग्वार्डिओलाको ‘टिकी–टाका’ टोटल फुटबलकै परिस्कृत रूप हो ।


प्रशिक्षक एरिक टेन हागले त्यही ‘आयाक्स दर्शन’ लाई फर्काउने प्रयास गरेका छन् । युवा खेलाडीले भरिएको आयाक्स विपक्षीलाई चर्को दबाब दिने, खेलाडीको गति, आक्रमणमा चारैतिर फैलिने, टिमको संरचनालाई पुरै समय टिकाइराख्ने खुबीकै कारण यो सिजन घरेलु लिग, कप र च्याम्पियन्स लिगसहित तीन उपाधि जित्ने अभियानमा अघि बढेको छ । ‘आयाक्सलाई मात्र होइन, च्याम्पियन्स लिगलाई नै राम्रो भएको छ,’ सेमिफाइनल पुगेपछि प्रशिक्षक टेन हागले भनेका छन्, ‘सधैं त्यही ७–८ टिम क्वाटरफाइनल पुग्ने र उपाधि जित्ने प्रतियोगिताको लागि राम्रो होइन । समर्थक यस्तो चाहदैनन् । फुटबलमा आश्चर्य चाहन्छन्, त्यो यो वर्ष हामीले गर्‍र्यौं ।’


युवा टिम
युवा प्रतिभा पहिचानको लागि माहिर मानिएको क्लब हो आयाक्स । क्रुफ, फ्रयांक राइकार्ड, डेभिड्स, डेनिस बर्गक्याम्प, क्लाइभर्ट, भान डेर भार्ट, भान डेर सार, मार्को भान बास्टेन, वेस्ली स्नाइडर आयाक्सबाटै उदाएका थिए । जाल्टन इब्राहिमोभिच, लुइस स्वारेजले आयाक्सकै बाटो रोजेका थिए । टोटेनहममा छाइरहेका टोबी एल्डरवेइर्ल्ड, जान भेर्टोगन, डेभिन्सन सान्चेज र क्रिस्टियन इरिक्सन आयाक्सबाटै लन्डन पुगेका हुन् । ११ वर्षको छँदादेखि आयक्समा रहेका डोनी भान डे बिकसहित एकेडेमीबाट आएका ६ खेलाडी युभेन्ट्सविरुद्ध पहिलो रोजाइमा खेलेका थिए ।


रोनाल्डोले युभेन्ट्सलाई दिलाएको अग्रता तोड्दै आयाक्सलाई जिताउन २१ बर्षीय भान बिक र १९ बर्षे कप्तान माथिज डे लिटले गोल गरेका थिए । २१ बर्षीय मिडफिल्डर फ्रेंकी डे जोङ सात करोड ५० लाख युरोमा अर्को सिजन बार्सिलोना जाने पक्का भइसक्यो । डेविड नेरेस (२२) प्रिमियर लिग जाने निश्चितजस्तै छ । मिडफिल्डर हकिम जियेच (२६) लाई ठूला क्लबहरूले चाहेका छन् । उनीहरूसँगै २३ वर्षीय गोलकिपर आन्द्रे ओनाना उत्कृष्ट लयमा छन् । त्यसैले त ‘बेबी आयक्स’ ले युभेन्ट्सलाई पाठ सिकाएको इटालीको चर्चित पत्रिका ला गजेट्टा डेलो स्पोर्टले हेडलाइन नै बनायो ।


म्यानचेस्टर युनाइटेडबाट क्लब कीर्तिमान एक करोड ४१ लाख पाउन्डमा फर्किएका डिफेन्डर डाले ब्लिन्ड (२९ वर्ष), साउथह्याम्पटनबाट एक करोड पाउन्डमा लिइएका फरवार्ड डुसान टाडिक (३०), मिडफिल्डर लेस सोन (३२) आयाक्सका सिनियर खेलाडी हुन् । प्रिमियर लिगमा चार वर्ष सफल नभएका टाडिकले यो सिजन आयाक्सको ५० गोलमा योगदान गरेका छन् । उनले ३२ गोल र १८ एसिस्ट गरेका छन् । डच लिगसँग प्रिमियर लिगको तुलना हुँदैन । तर, च्याम्पियन्स लिगको ६ गोल र ३ एसिस्टले उनको कौशल पुष्टि गर्छ । युवा र सिनियर खेलाडीको मिश्रणले आयाक्स बलियो देखिएको छ । डिफेन्समा ब्लिन्ड र डे लिट, मिडफिल्डमा सोन र डे जोङको जोडी खुबै चलेका छन् ।


रुसमा विश्वकप २०१८ सकिएको दस दिनभित्रै आयाक्सको च्याम्पियन्स लिग यात्रा सुरु भएको थियो, जति बेला उसले प्रारम्भिक चरणको छनोटमा अस्ट्रियन क्लब स्टुर्म ग्राजको सामना गरेको थियो । त्यसपछि बेल्जियन क्लब स्ट्यान्डर्ड लिगा, युक्रेनी डायनमो किभलाई पन्छाउँदै आयाक्स च्याम्पियन्स लिगको समूह चरण पुगेको थियो । त्यस बेला उसले यति लामो यात्रा गर्ने कसैले अनुमान गरेको थिएन । च्याम्पियन्स लिगको सेमिफाइनल पुगेपछि चर्चा आयाक्सकै भइरहेको छ ।
Twitter: @ rghising

Page 24
कोसेली

'लुसी इन द स्काई विथ डायमन्ड'

'बिटल्स' को एउटा गीत र मानवको आदिपुर्खाको यस्तो कथा जसलाई अनौठो संयोगले जोडेको छ ।
- सुरेश ढकाल

 

संयोग एक
सन् ६० को दशकको सम्भवतः सर्वाधिक लोकप्रिय सांगीतिक समूह थियो ‘बिटल्स’ । १९६७ मा ‘बिटल्स’ ले एउटा गीत रेकर्ड गरायो, ‘लुसी इन द स्काई विथ डायमन्ड ।’ जोन लेननले लेखेको र संगीतबद्ध गरेको यो गीत उनीहरूका अरूजस्तै हिट भयो ।


हिट मात्र भएन, यो गीतलाई बीबीसी रेडियोले प्रतिबन्धसमेत लगायो । संयोग के पर्‍यो भने यो गीतमा प्रयुक्त शब्दहरू ‘लुसी इन द स्काई विथ डायमन्ड’ को पहिलो अक्षरहरू एलएसडी हुने रहेछ । एलएसडी (लाइसेर्जिक एसिड डाइइथाइलामाइड) लाई एक मनोभ्रामात्मक अवस्थामा पुर्‍याउने लागूऔषध (ड्रग) को रूपमा लिइन्छ । प्रतिबन्धित एलएसडीको कुख्याति त्यसबेला चरममा पुगेको थियो । निराशा र गन्तव्यहीनताबाट पिरोलिएका साथै केही आक्रोशी र प्रतिरोधी युवासमेत यसको लतमा परेका थिए । दिग्भ्रमितलाई नै हो थप दिग्भ्रमले आनन्द दिलाउने । लठ्ठ, मस्त, मदहोसी, बेहोसीमा मनमगन र बिन्दास भएर बस्नेहरूका बीच त यो गीत लोकप्रिय हुने नै भयो ।


मेरा एक छिमेकी थिए । मभन्दा केही वर्षले नै जेठा । उनी सायद निराशा र निस्सारताबाट मुक्त हुने बहानामा एलएसडीको कुलतमा परेका थिए । उनी भन्थे, ‘एक पटक स्वाट्ठ तानेर मस्त आँखा चिम्लेपछि लन्डन भने लन्डन, पेरिस भने पेरिस पुगिन्छ ।’ जसरी ‘बिटल्स’ का गीत नेपालमा लोकप्रिय हुँदै थिए क्रमशः नेपाली युवाहरूमाझ एलएसडी पनि । यद्यपि यी दुईबीच कुनै सोझो तादात्म्यता भने थिएन । दुवैको लोकप्रियतामा कुनै तादात्म्य थियो पनि कि ? जोन लेननले भने पटक–पटक यसलाई अस्वीकार गरे । त्यति हुँदाहुँदै पनि यो गीत समावेश भएको एल्बम ‘सर्जेन्ट पेपर्स लोन्ली हार्ट्स क्लब ब्यान्ड’ बजारमा आउनुअघि नै बीबीसी रेडियोले गीतलाई प्रतिबन्ध लगाइसकेको थियो, माथिकै कारणले ।


खासमा यो लिविस क्यारोलको बाल उपन्यास ‘एलिस इन द वन्डरल्यान्ड’ मा वर्णन गरिएको केही भ्रामक यथार्थ वा अद्भुतखाले परिकल्पनामा आधारित गरेर तयार गरिएको थियो । गीत यसरी बालबालिकाका लागि लेखिएको कथामा आधारित हुनु कुनै संयोग भने थिएन । लेनन किताबको अद्भुत काल्पनिकीबाट प्रभावित थिए । लेननका तीनवर्षे छोरा जुलियनको नर्सरी स्कुलको चित्र, जसलाई ऊ लुसी– इन द स्काई विथ डायमन्ड भन्थ्यो, बाट प्रभावित भएर ‘एलिस इन द वन्डरल्यान्ड’ मा वर्णित काल्पनिकीको धरातलमा टेकेर लेखिएको थियो उक्त गीत । यसरी गीत निर्माण हुनु, आरोपित हुनु, प्रसिद्धि पाउनु सब संयोगजस्तै थियो । उक्त गीत संगृहीत एल्बम बेलायत, अस्ट्रेलिया, अमेरिकालगायत युरोपका कतिपय देशमा पहिलो नम्बरको हिट बने । उक्त एल्बममा रहेको ‘अ डे इन द लाइफ’ बिटल्सको अहिलेसम्मकै उत्कृष्ट गीतको सूचीमा छ भने लुसी २६ औं सर्वाधिक मन पराइएको गीतमा पर्छ ।

संयोग दुई
संयोग एक खासमा संयोग दुईको पृष्ठभूमि मात्र थियो । सन् १९९६ मा म पुरातात्त्विक मानवशास्त्रको विद्यार्थी थिएँ, नर्वेको वर्गेन विश्वविद्यालयमा । त्यही बेलामा परिचय भएको हो लुसीसँग पहिलोपल्ट । यो लुसी बिटल्सको उही लुसी थिएन बरु लाखौं वर्ष पहिले नै लोप भइसकेको मानव पुर्खाका एक प्रजातिको प्रतिनिधि थियो । खासमा यिनै विलुप्त मानव पुर्खाले नै ‘बिटल्स’ को लुसीसँग पनि परिचय गराइदिएको थियो । खासै अंग्रेजी गीत नसुन्ने मलाई पनि यो गीत सुन्ने हुटहुटी जागेर आयो । मेरा एक सहपाठी थिए अंग्रेजी संगीतका पनि पारखी । उनकै सहयोगमा उक्त एल्बम किनेर यो गीत सुनेको थिएँ । त्यसअघि ‘बिटल्स’ का केही गीत नसुनेको पनि होइन । त्यस बेलासम्म ‘बिटल्स’ जति सुनिएको थियो त्योभन्दा बढी उनीहरूबारे पढेको थिएँ । त्यसका केही सन्दर्भ र कारणहरू छन्, मौका मिले कुनै बेला लेखौंला ।


यो संयोग दुईको संक्षिप्त पूर्वकथा हो । संयोग दुईको खास कथा भने यस्तो छ । नोभेम्बर २४, १९७४ । मानवशास्त्रका सहप्राध्यापक ३१ वर्षीय युवा डोनाल्ड जोहान्सने एक अमेरिकी–फ्रेन्च पूरा–मानवशास्क्रीहरूको सयुंत्त टोलीको नेतृत्व गर्दै इथियोपियाको आफर प्रान्तमा पर्ने हदर भन्ने स्थानमा पूरा–मानवको अवशेष उत्खननमा व्यस्त थिए । ग्रेट रिफ्ट भ्यालिकै एक अंश यो इथियोपियालीे गाउँ प्राचीन मानव अवशेषको पुरातात्त्विक उत्खननका लागि प्रसिद्ध थियो, छ । ऊक्त दिन डनले अन्वेषण क्षेत्रको एक कुनामा सेता हाडका टुत्राजस्तो केही देखे । त्यो खासमा मानव अस्थिपञ्जरको अवशेषको एक टुक्रा नै रहेछ । उत्खननका क्रममा करिब ४० प्रतिशत जति अस्थिपञ्जर अवशेषहरू जम्मा हुन सक्यो । यो कुनै लोप भैसकेको मानव जातिकै पुरावशेष थियो भन्ने पक्का भयो । उक्त मानवअवशेष त्यस बेलासम्म प्राप्त भएकामध्ये सबैभन्दा पूर्ण थियो । यो उनीहरूका लागि ज्यादै महत्त्वपूर्ण प्राप्ति हुन सक्थ्यो र मानव उद्विकासको इतिहासकै लागि पनि । तत्कालै अन्वेषण टोलीकी एक सदस्य पामेला एल्डरम्यानले उक्त मानव अवशेषको न्वारन पनि गरिदिइन– ‘लुसी’ । लुसी एक स्त्रिलिङ्गी नाम थियो त्यतिबेलासम्म उक्त अस्थिपञ्जरको लिङ्ग पहिचान भइसकेको थिएन । तैपनि यो नाम सबैले स्विकारे ।


यसरी जन्म भएको थियो दोस्रो लुसीको । संयोग के थियो भने त्यस बेला डन जोहान्सनको पाल (क्याम्प) बाहिर उही बिटल्सको ‘लुसी इन द स्काई विथ डायमन्ड’ गीत बजिरहेको थियो । त्यसैबाट प्रभावित भएर पामेलाले उक्त अस्थिपञ्जर–अवशेषको नाम लुसी सुझाएकी थिइन् । भनिन्छ उनीहरूका लागि त्यो दिन उत्सवमय थियो । खुसीले सब मखलेल थिए । त्यो साँझ उनीहरूले पार्टी पनि गरेका थिए । भनिरहन परोइन, त्यो साँझ र रातभर पनि उनीहरूले बिटल्सको ‘लुसी...’ दोहोर्‍याई दोहोर्‍याई बजाएका थिए ।


अर्को संयोग के जुर्‍यो भने ‘लुसी’ नाम दिइएको त्यो अवशेष स्त्रीलिङ्गी नै परेछ । यसको पहिचान ‘अस्ट्रेलोपिथेकस आफरेन्सिस’ भनी निर्क्योल गरियो । आफर भन्ने स्थामा भेटिएकाले यसको नाम ‘आफरेन्सिस’ राखिएको थियो । प्राप्त भएको स्थानको पहिचान झल्कने गरी मानवाशेषहरूको नामकरण गरिने आम चलन नै हो । जस्तै जर्मनीको नियान्डरटल उपत्याकामा पाइएको अवशेषलाई नियान्डरथालेनसिस् वा नियान्डरथल मानव, पेकिङमा पाइएकोलाई पेकिङ मानव । त्यस्तै शिवालिक शृंखलामा प्राप्त मानवअवशेषलाई शिवापिथेकस र हाम्रै बुटवलको तिनाउ नदीमा भेटिएकोलाई बुटौलोपिथेकस भनी नामकरण गरिएको छ । तिनाउ नदीको किनारमा प्राप्त उक्त आदिमानवको बंगारा १ करोड १० लाख वर्ष पुरानो भनिए पनि उक्त अवशेष सतहमा पाइएको थियो न कि कुनै पुरातात्त्विक सन्दर्भबाट उत्खनन गरिएको । तसर्थ यो मानवशास्त्रीय दृष्टिकोणबाट खास महत्त्वको मानिदैन ।


फेरि ‘बिटल्स’ कै गीतको कुरा गरौं । उक्त गीत रेकर्ड गरिएको सात वर्ष भइसकेको थियो । त्यसबीचमा ब्यान्डका पाँचवटा स्टुडियो एल्बम र झन्डै एक दर्जन कम्पाइलेसन एल्बम निस्किसकेका थिए । ‘लुसी इन द स्काइ...’ को रौनक खुइलिसकेको भने थिएन । ‘बिटल्स’ सुन्ने पुस्ता अहिले पनि यो गीत सुन्छन् होलान् नै । तर, त्यस दिनदेखि प्रसिद्धि कमाउने लुसीचाहिँ त्यही मानव अस्थिपञ्जर अवशेष बन्यो । यसरी डन जोहान्सनले लुसीलाई प्रसिद्ध बनाए र लुसीले डन जोहान्सनलाई ।


आज पनि मानव उद्विकासको अध्ययन अनुसन्धानमा संलग्नहरूका लागि यो घटना सुखद संयोग मात्र रहेन । ‘अस्ट्रेलोपिथेकस अफारेन्सिस्’ पहिलो मानवपुर्खाको ज्ञात प्रजाति भनि पहिचान गरिएको उक्त दुईखुट्टे मानव अवशेषको प्राप्ति महत्त्वपूर्ण घटना सावित हुन पुग्यो । उनै जोहान्सनले अर्का एक सहकर्मीसँग मिलेर लेखेको पुस्तक ‘लुसी ः द बिगिनिङ अफ ह्युमनकाइन्ड’ ले अमेरिकी ‘नेसनल बुक अवार्ड इन साइन्स’ पायो । जोहान्सनले यी बितेका साढे चार दशक उनै लुसीको कथा लेखन र पुनर्लेखन गरेर बिताए तर पनि पूर्ण कथा भने अझै लेखिइसकेको छैन ।


जोहान्सन मानव उद्विकासको इतिहास लेखनमा यति तल्लीन भए कि उनले इन्सिच्युट अफ ह्युमन ओरिजिन्स भन्ने संस्थासमेत स्थापना गरे । ७६ वर्षीय यी मानवशास्त्री आजपर्यन्त लागिपरेकै छन् लुसी र आफ्नै बीचको नाता सम्बन्ध खुट्याउन । अर्थात् उक्त विलुप्त प्रजाति ‘अस्ट्रेलोपिथेकस अफरेन्सिस्’ कसरी आजको आधुनिक मानवसम्म विकास भयो होला भनेर थाहा पाउन । यो प्रश्न किन पनि महत्त्वपूर्ण छ भने मानवजातिको विगतबारे जति थाहा पाउन सकिन्छ उसको भविष्यको बारेमा पनि त्यत्ति नै धेरै अनुमान लगाउन सकिन्छ ।


मानवशास्त्रीहरूले के तथ्य उजागर गरिसकेका छन् भने अनुमानित ३२ लाख वर्ष पुरानो उक्त मानव पुर्खा करिब साढे ३ फिटदेखि ४ फिटसम्म अग्लो र ७५ पाउन्ड जति तौल भएको, दुई खुट्टाको भरमा सीधा उभिन सक्ने थियो । ऊ शाकाहारी थियो र दिमागी आकार हालको चिम्पाञ्जीको भन्दा ठूलो थियो । अर्का मावनशास्त्री रेमन्ड डार्टको ‘अस्ट्रेलोपिथेसाइन’ दुई खुट्टामा उभिएर सीधा भएर हिँड्न सक्थे भन्ने सिद्धान्तलाई पुष्टि गर्नसमेत यो तथ्यले बल पुर्‍यायो भनिन्छ । अमेरिकाका विभिन्न सहरहरूको एक वर्ष लामो यात्रापछि अहिले लुसीको स्थायी बसोबास इथियोपियाको संग्रहालयमा भएको छ ।


यी दुई लुसीको जन्मलाई किन पनि संयोग भनियो भने यदि लेननका तीनवर्षे छोरा जुलियनको नर्सरी चित्रको शीर्षक त्यो नहुँदो हो त न बिटल्सको गीत बन्थ्यो न हाम्रा आदि पुर्खाले उक्त नाम नै पाउँथे ।सन् २०१४ मा अमेरिकाको ओहायोमा आयोजित साइन्स राइटर कन्फरेन्समा जोहान्सन सुनाउँदै थिए, ‘कसैले मलाई सोध्दै थिए कि ४० वर्षमा के त्यस्तो फरक पायौ लुसी र तिमीमा ?’ उनको उत्तर थियो, ‘यो एकदम सरल छ । म ऐना हेर्दा थाहा पाउँछु कि म ४० वर्ष बूढो भएको छु, लुसी एक दिन पनि बूढो देखिंदैन ।’