You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 28
मुख्य पृष्ठ

घोडा नचढे जरिवाना

- आश गुरुङ
हिमालपारिको जिल्ला मनाङको मनाङ गाउँमा यार्तुङ पर्वमा घोडा दौडाउँदै युवा । तस्बिर सौजन्य ः विनायक जय मल्ल

(लमजुङ) - माथिल्लो मनाङमा मोटरबाटो नपुग्दासम्म स्थानीयको सवारीसाधन घोडा थियो । बाटो बिस्तार सुरु भएयता मनाङीले घोडा बेच्दै मोटरसाइकल किन्न थाले ।


यसको असर मनाङ गाउँ र टंकीले मिलेर मनाउने परम्परागत यार्तुङ पर्वमा पर्‍यो । घोडा दौड गरेर मनाइने यो पर्वका सहभागी घटे । यसपटक दुवै गाउँका अगुवाले जरिवानाको नियम बनाए । ‘यार्तुङमा सहभागी नहुनेलाई तीन हजार रुपैयाँ जरिवाना तोकिएको थियो,’ पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले भने, ‘पर्वमा युवा सहभागिता अनिवार्य होस् भन्नका लागि जरिवानाको नियम बनाइएको हो ।’


चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने दुवै गाउँले मिलेर मनाउँदै आएको यार्तुङ हिमाल पारिका जिल्लाको ठूलो पर्व हो । मनाङीका अनुसार तिब्बती भाषामा ‘यार’ को अर्थ बर्खा र ‘तो’ को घोडा हुन्छ । ‘यार्तो’ बाट अपभ्रंश भएर ‘यार्तुङ’ रहन गएको मानिन्छ । बर्खायाममा मनाइने पर्व कृषि कर्ममा हुने दुःख र परिश्रमका थकान मेटाउनका लागि भएको स्थानीय बताउँछन् ।यसपटक गाउँका अधिकांश युवा यार्तुङमा सहभागी भएर पाँच दिनसम्म घोडा दौडाए । १६ देखि ५५ वर्ष उमेर समूहका पुरुषले घोडा दौडाएका थिए । शनिबार सुरु भएको यार्तुङ बुधबार सम्पन्न भएको छ । यसपटक करिब सय जनाले घोडा दौडाएको गुरुङले बताए ।


मनाङमा घोडा दौडाउन यस पटक पर्यटकीय पदमार्ग ५ हजार १६ मिटरको थोराङला भन्ज्याङ पास गरेर मुस्ताङबाट १३ जना युवा पुगेका थिए । ‘छिमेकी जिल्लाबाट पनि घोडा लिएर आएको देखेर यहाँका युवा हौसिए । यार्तुङ निकै रोमाञ्चक बन्यो,’ उनले भने । मुस्ताङीले खादामा पैसा बाँधेर भुइँमा राखेर घोडा दौडाई टिपेका थिए ।

‘घोडामा चडेर भुइँको खादामा राखेको पैसा टिपेको अहिलेको यार्तुङमा विशेष बन्यो,’ उनले भने, ‘मनाङीले टिप्न सकेनन् ।’ यार्तुङको घोडा दौड हेर्न पाउँदा स्वदेशी विदेशी पर्यटक रमाएका थिए । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार पर्वले मनाङीमा खुसी ल्याएको छ । वर्षायाम सकिँदै गर्दा माथिल्लो मनाङका बासिन्दाले यो पर्व मनाउँछन् । ‘बाली लगाएपछिको थकान मेटाउन र रमाइलो गर्न बर्सेनि यार्तुङ मनाइन्छ,’ उनले भने । यसपटक यार्तुङको पहिलो, दोस्रो र तेस्रो दिन घोडा दौड गरिएको उनले बताए । चौथो दिन घोडचढीले पोचो गुम्बा गएर पूजा गर्नुका साथै रोटी र सगुन खाएर नाचगान गरेका थिए । अन्तिम दिन घोडा दौडाएपछि मनाङ गुम्बामा गई पूजा गरी फर्केर लामाबाट वाङ (अभिषेक) थापेर पर्वको समापन गरिएको थियो । स्थानीयले मनाङ र भ्राकाको सिमानामा घोडा दौडाएका थिए । यार्तुङ पर्वका लागि सुरुमा गाउँ भेला गरेर ‘नन्दी’ तोकिएको हुन्छ । नन्दी भनेको पर्वको संयोजक हो । यो वर्ष मनाङ ङिस्याङ गाउँपालिका–७ टंकी गाउँबाट टसी गुरुङ र ८ को मनाङ गाउँबाट पेम्बा गुरुङ नन्दी छानिएका थिए । उनीहरूले पर्वको व्यवस्थापन गरेका थिए । ‘गाउँ कोषको पैसाले नपुगे आफैंले पनि खर्च गर्नुपर्ने हुन्छ । तैपनि बर्सेनि नन्दी बस्छन्,’ मनाङ गाउँका पूर्वम्हिथेवा (गाउँले प्रमुख) कर्मा गुरुङले भने । मनाङसँगै भ्राका, पिसाङ र चामेलगायत गाउँमा पनि यार्तुङ मनाइन्छ । सुरुमा मनाङ गाउँमा यार्तुङ मनाएपछि मात्रै अन्य गाउँमा यो पर्व मनाइने गरिन्छ । चामेमा भने फरक समयमा मनाउने गरिन्छ । मनाङ जिल्ला ३ हजार ५ सय ४० मिटर उचाइमा पर्छ ।

मुख्य पृष्ठ

'मलाई भनिएन'

'पछि मात्र थाहा भयो, त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ’
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई सरकारी निकायले ‘अनभिज्ञ’ राखेको बताएका छन् ।


भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएको बारे २३ गते मात्र जानकारी प्राप्त गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । ‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो । तसर्थ मेरो जानकारीमा नभएको हुनाले मैले पत्र आएको छैन भनें । तर २३ गते बेलुका मात्र मैले पत्र आएकोबारे जानकारी पाएँ । म त्यसबाट अत्यन्त दुखित छु,’ प्रधानमन्त्री ओलीले बुधबार जनतासँग प्रधानमन्त्री कार्यक्रममा विषादी प्रकरणबारे स्पष्टीकरण दिँदै भने, ‘र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस्, मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो । एउटा यथार्थ मबाट लुकेको रहेछ ।’


प्रधानमन्त्रीको यो अभिव्यक्तिले मुलुकको कार्यकारी व्यक्ति नै कति गुमराहमा छन् भन्ने प्रश्न उब्जिएको छ । प्रधानमन्त्री ओलीले २१ गते नेकपाको संसदीय दलमा ‘कस्तो पत्र कसले पठाएको पत्र ?’ भन्दै सांसदहरूमाथि आक्रोश पोखेका थिए । उनले पत्रै नआएको दाबी गरेका थिए । प्रधानमन्त्री ओलीले त्यसो भनेको दुई दिनपछि (२३ गते) भारतीय दूतावासले असार १४ मा नै परराष्ट्र मन्त्रालयलाई सम्बोधन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय र खाद्यप्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई बोधार्थ दिँदै लेखेको पत्र सार्वजनिक भएको थियो । प्रधानमन्त्री ओलीले आफूबाट लुकेको कुरा थाहा नपाउँदा जे हो त्यही अभिव्यक्ति दिएको बताए ।

‘लुकेको कुरा थाहा नहुँदा मैले आएको छैन (पत्र) भनें । त्यसबाट मैले कहीं जनतालाई अल्मल्याउन खोजेको त होइन भन्ने भ्रम पर्ने अवस्था र विरोधीहरूले भएको कुरालाई हैन भन्यो भनेर प्रचार गर्ने मौका पाए,’ प्रधानमन्त्री ओलीले भने, ‘मलाई त्यसमा कुनै त्यो एउटा तथ्यलाई अर्को ढंगले भन्नुपर्ने र त्यसो भन्दा लाभ हुने अवस्था होइन र थिएन ।’ परीक्षणका लागि तयारी नपुगेको र त्यसअनुसारको संरचना पनि नभएको पाएपछि केही समयका लागि रोक्ने निर्णय आफैंले गरेको ओलीले दाबी गरे । ‘त्यो चासो सरोकार जनाएको कुरा पनि मसम्म आएको थिएन । मैले त आफैं तयारी पुगेको छैन भनेर रोकेको हुंँ,’ प्रधानमन्त्री ओलीले भने, ‘भित्रभित्रै कुरा भएको रहेछ । विभिन्न ठाउँमा राजदूतले नै भेटेर भनेको आदि पाइयो । यो कुरा त मलाई कसैले बताएन । मैले त हाम्रो तयारी पुगेन भनेर केही समयका लागि तयारी गर्नका लागि रोक्ने निर्देशन गरेको हो ।’


उनले विषादी परीक्षण कुनै देशसँग लक्षित नरहेको बताए । ‘यो कुनै देशसँग लक्षित होइन । सामान्य ढंगले हामीले आयात गर्ने खाद्यपदार्थ शुद्ध हुनुपर्छ भन्ने कुरा हो,’ उनले भने, ‘यो कुनै देशका विरुद्ध होइन, हामी धेरै देशबाट खाद्य सामग्री आयात गर्छौं, बंगलादेश, थाइल्यान्ड, ब्राजिल, अमेरिकाबाट गर्छौं तर अलिक ठूलो भोल्युममा भएकाले त्यसले अलिक चासो सरोकार जनायो होला ।’ प्रधानमन्त्री ओलीले अहिले पनि सम्पूर्ण रूपमा परीक्षण नरोकिएको दाबी गरे । छिटो परीक्षणका लागि छिटो काम भइरहेको र अन्य मित्रराष्ट्रहरूलाई पनि परीक्षण गरेको प्रमाणपत्रसहित पठाउनुहोस् भनेर आग्रह गरेको प्रधानमन्त्रीले जानकारी दिए । अहिले आफूले नै परीक्षणको काम सुरु गरेको र केही समय तयारीका लागि रोक्दा ‘कोहोहोलो’ मच्चाइएको भन्दा आक्रोश पोखे । ‘यसअघि अमृतै अमृत आउँथ्यो ? छानबिन गर्नु पर्दैनथ्यो, बहुमत राम्रो कुरा मात्र हुन्थ्यो ? यतिबेला चाहिँ हल्ला भएको छ । विषादीयुक्त चीज खाने भनेर ? तबसम्म किन नबोलेका जबसम्म म बोलिनँ ? किन नबोलेको हो ? अहिले मैले छानबिन गरिरहेको छु र मित्रराष्ट्रहरूलाई आफ्ना परीक्षण गरेको प्रमाणपत्र दिएर सामान पठाउनु भनेको छु,’ प्रधानमन्त्री ओलीले भने ।


जनशक्ति र यन्त्रहरू पनि पर्याप्त नरहेको अवस्थामा परीक्षण गर्न सकिन्छ भन्ने खालको प्रस्ताव मन्त्रालयबाट किन आयो भन्नेमा पनि प्रधानमन्त्रीले आशंका व्यक्त गरेका छन् । ‘अब भयो (परीक्षण गर्ने क्षमता) भनेर प्रस्ताव किन ल्यायो ? तर प्रस्ताव त्यसरी आयो जसबाट म अलिकति झुक्किएँ,’ प्रधानमन्त्री ओलीले भने । उनले यो प्रकरणमा प्रतिक्रिया दिनेहरूप्रति आपत्ति जनाए । ‘यसलाई बहुतै देशभक्त पल्टिएर र जनताका स्वास्थ्यमा बहुतै सजग पल्टिएर कोही चिकित्सकहरू कराउने, कोही कुन संस्था कराउने ? एकैचोटि जुन यो हुइँया मच्चिएको छ, यो हुइँयाको सजगताका लागि धन्यवाद छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसअघि किन चुँ पनि गरिएन ? म सरकारमा आएपछि त सजगता अपनाएँ । तयारी गर्नुपर्ने ठाउँमा तयारी गरें । अलिकति तयारी नपुगेको रहेछ, घोषणा हतारोसाथ भएछ, त्यसैले केही समयलाई रोकेको हो ।

मुख्य पृष्ठ

'परीक्षण नरोक्नू'

- राजु चौधरी

(काठमाडौं) - सीमामा विषादी परीक्षण रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी
परीक्षण यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।


अब अदालतको अर्को आदेश नहुँदासम्म विषादी परीक्षण गरेर मात्र आयात गर्नुपर्नेछ । सरकारले असार २ गते राजपत्रमा प्रकाशित गरेर भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण अनिवार्य गरेको थियो । यो कदमले भारतीय व्यवसायीलाई अप्ठ्यारो परेपछि असार १४ मा भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो । फलफूल तथा तरकारी रोकेको जनाउँदै भारतीय दूतावासले दबाब दिएपछि असार १८ गते परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको थियो । सरकारले पर्याप्त प्रयोगशाला नभएका देखाउँदै आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगित गरेको हो । सरकारको पछिल्लो निर्णयलाई चुनौती दिँदै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित स्वागत नेपाल र उपभोक्ता हित संरक्षण मञ्चले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।


न्यायाधीश भट्टराईको इजलासले गुणस्तरीय सेवा तथा वस्तुको अधिकारका साथै खाद्य, स्वास्थ्य र सुरक्षित मातृत्वको अधिकारसमेत यो निवेदनसँग सरोकार राख्ने प्रकृतिको रहेको भनेको छ । हानिकारक रसायन अनि अखाद्य पदार्थ नियन्त्रणबारे असार २ गतेको राजपत्रको सूचना जारी भएकामा दुई सातापछि त्यसलाई रोक्न गरिएको निर्णयबारे प्रश्न उठेको भन्दै त्यसबारे छलफल हुनुपर्ने भन्दै सर्वोच्च अदालतले दुवै पक्षलाई आगामी सोमबार छलफलका लागि झिकाएको छ । ‘मुलुकी अपराध संहिता २०७४ को दफा १०७ ले हानिकारक रासायनिक पदार्थ वा अखाद्य पदार्थ बिक्री, वितरण पैठारीसमेतको कार्यलाई निषेधित आपराधिक कार्य मानेको अवस्थासमेत हुँदा यस सन्दर्भमा २०७६ असार २ को राजपत्रमा प्रकाशित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचना विपरीत हुने गरी सोही मन्त्रीस्तरीयबाट २०७६ असार १८ मा गरिएको निर्णय संविधान र कानुनका यी समस्त व्यवस्थाहरूको के कति अनुकूल हुन्छ भन्ने प्रश्न उत्पन्न भएको छ,’ आदेशमा भनिएको छ ।

अदालतले कुनै परीक्षण गरिएको भए सोसम्बन्धी तथ्यांक एवं फलफूल र तरकारीको नेपालमा आयात गर्नुपूर्व परीक्षण गरिएको भए सो सम्बन्धित तथ्यांक एवं फलफूल र तरकारीको नेपालमा आयात गर्नुपूर्व परीक्षण गरिएको विषय खुल्ने कागजातसमेत झिकाएको छ । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले सर्वोच्चले देखाएको बाटो तत्काल लागू गर्नुपर्ने बताए । ‘अदालतको आदेश सबैले परिपालना गर्नुपर्छ । सर्वोच्चको आदेश तत्काल कार्यान्वयन हुनुपर्छ,’ बानियाँले भने, ‘अदालतको आदेश पालना नभए मानहानि मुद्दामा जान्छौं ।’ तरकारी परीक्षणमा कडाइ भएपछि भारतीय दूतावासका अधिकारीले दैनिक कृषि तथा पशुपन्छी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दैनिक दबाब दिएका थिए । दूतावासले पत्रको बोधार्थ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव युवकध्वज जीसी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी कार्यवाहक महानिर्देशक मतिना वैद्य जोशीलाई समेत दिएको थियो ।


पत्रमा भारतको राष्ट्रिय वनस्पति संरक्षण संस्था तथा कृषि तथा प्रशोधित खाद्य पदार्थ निर्यात विकास प्राधिकरणले नेपालमा निर्यात हुने यस्ता सामग्रीलाई ‘फाइटोस्यानिटरी प्रमाणपत्र’ प्रदान गर्ने गरेको र ती प्रमाणपत्र नेपाली निकायहरूलाई स्वीकार्य रहेको उल्लेख छ । यसरी स्वीकार्य भइसकेको विषयलाई किन पुनर्परीक्षण गर्नुपर्‍यो भन्ने दूतावासको पत्रको आशय छ । दूतावासले सरकारको यो निर्णयले भारतीय निर्यातकर्तालाई ठूलो घाटा लाग्ने कुरा उल्लेख गरेको छ । ‘भारतीय निर्यातकर्तालाई ठूलो घाटा लाग्ने गरी भएको गैरकर अवरोधको तत्काल कार्यान्वयनका लागि कुनै तत्त्व जिम्मेवार भए आवश्यक सूचना तथा कागजातसहित औचित्य पुष्टि गर्नका लागि राजदूतावास सम्मानित मन्त्रालयलाई आग्रह गर्दछ,’ पत्रमा भनिएको छ । दूतावासले धम्कीपूर्ण पत्राचार गरेपछि सरकारले विषादी परीक्षण गर्ने निर्णय स्थगित गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव र कृषिमन्त्री चक्रपाणि खनालले दबाब नआएको दाबी गरेको थिए ।

मन्त्री खनालले वाणिज्य मन्त्रालयले मन्त्रिपरिषदको बैठकमा प्रस्ताव गरेपछि विषादी परीक्षण गर्न स्थगित भएको बताएका थिए । मन्त्री यादवले पनि विषादी परीक्षण गर्ने प्रयोगशाला अभाव भएको बताएका थिए । उनले पत्रकार सम्मेलन गरेर दबाब नभई केन्द्रमा एउटा मात्रै ल्याब भएकाले अन्तर्राष्ट्रियस्तरको ल्याब भएपछि पुनः कडाइका साथ कार्यान्वयन गर्ने बताएका थिए । प्रयोगशालाको तयारीबिना परीक्षण गर्दा भन्सारमा फलफूल तथा तरकारी बोकेका गाडी रोकिएका थिए । हाल मुलुकमा बर्सेनि अर्बौं रुपैयाँको विषादी भित्रिन्छ । भान्सामा विषादीजन्य तरकारी तथा फलफूल प्रयोग भइरहेको छ । आयातितसँगै स्वदेशमा उत्पादित तरकारी तथा फलफूलको पनि परीक्षण हुन सकेको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग केन्द्रमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याब भए पनि प्रयोग हुन सकेको छैन ।


प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार मुलुकभित्र करिब २९ ग्रुपका विषादी प्रयोग भइरहेका छन् । फलफूल तथा तरकारीमा दर्जन ग्रुपका विषादी प्रयोग गरिन्छन् । केन्द्रमा ७ वटा प्रयोगशाला छ । तीमध्ये नेपाली प्रयोगशालाबाट दुई ग्रुप (काब्रामाइट र अर्गानोफोस्पेट) को मात्र परीक्षण हुन्छ । तीबाहेक अन्य ग्रुपका विषादी स्वदेशी प्रयोगशालाले यकिन गर्न सक्दैन । विषादी परीक्षणबाहेक विषादीको अवशेष मात्रा पनि निर्धारण गरिएको छैन । दक्ष कर्मचारीको अभावमा भएका ल्याबबाट पनि दुई ग्रुपका विषादी परीक्षण हुन सकेको छैन ।

मुख्य पृष्ठ

प्रतिबन्धपछि चन्द समूहका ८ मारिए

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सरकारले नेत्रविक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता–कार्यकर्ता मारिएका छन् । चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरी जवानको पनि ज्यान गएको छ । पछिल्लोपल्ट बुधबार भोजपुरमा ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका हुन् । भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौं विस्फोटमा ५ गरी चन्द समूहका ८ जना मारिएका हुन् । काठमाडौ विस्फोटमा एक सर्वसाधारणको पनि ज्यान गएको थियो । प्रतिबन्धयताको अवधिमा दुई प्रहरीसहित ९ जना घाइते छन् ।


नेकपा संसदीय दलको चैत ११ को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र नेत्रविक्रम चन्द समूहलाई सरकारले निस्तेज पारिसक्ने दाबी गरेका थिए । प्रधानमन्त्रीको यस्तो दाबीपछिका चार महिनामा पटकपटक चन्द समूह र प्रहरीबीच देशका विभिन्न स्थानमा भिडन्तको अवस्था सिर्जना भएको देखिन्छ ।फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएपछि उक्त समूहका नेता तथा कार्यकर्तामाथि निगरानी बढाउन, सार्वजनिक रूपमा कार्यक्रम गर्न नदिन सुरक्षा निकायलाई परिचालन गरिएको थियो । सरकारी निर्णयपछि प्रहरीले देशैभर चन्द समूहका नेता तथा कार्यकर्ता पक्राउ तीव्र पारेको थियो । १० चैतमा गृह मन्त्रालयले चन्द समूहलाई प्रत्यक्ष–परोक्ष सहयोग पुर्‍याउने व्यक्ति, संस्था वा समूहलाई समेत कारबाहीको दायरामा ल्याइने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचना जारी भएलगत्तै प्रधानमन्त्री ओलीले चैत महिनाको समय दिएका थिए । त्यसपछि झन् सरकार र चन्द समूह आमनेसामने भइरहेका छन् । असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ मा चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीको गोलीबाट मारिए । दोहोरो भिडन्तमा कुमार मारिएको दाबी प्रहरीले गरे पनि फेक इन्काउन्टरमा प्रहरीले पौडेललाई मारेको भन्दै संसद्मा प्रतिपक्षी र सरकारसम्बद्ध दलकै नेताले प्रश्न उठाइरहेका छन् । यो विषयमा संसदीय छानबिनको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले प्रतिनिधिसभा अवरोध गरिरहेको छ ।गत जेठ ७ मा भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा चन्द समूहकै कार्यकर्ता तीर्थराज घिमिरेको पनि प्रहरीको गोली लागी मृत्यु भएको थियो । प्रहरीले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै चन्द समूहले नेपाल बन्दकै आयोजना गरेको थियो ।


प्रतिबन्धअघि २०७५ वैशाखदेखि फागुन ९ सम्म प्रहरीले चन्द समूहका एक सय ९० नेता–कार्यकर्ता पक्राउ गरेको थियो । तीमध्ये एक सय ७२ जनाको मुद्दा दर्ता भएका थिए । गत फागुनदेखि असार २५ सम्म मात्र चन्द समूहका ५ सय ७९ जना पक्राउ परेका छन् । ८७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ७० जना अनुसन्धानका क्रममा थुनामा छन् । ५ सय ३६ विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । यही अवधिमा चन्द समूहका ३९ जनालाई पक्राउपछि सोधपुछ गरेर छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको दाबीअनुसार यो अवधिमा चन्द समूहका ३ सय ५२ जनाले समूह परित्याग गरेको लिखित प्रतिबद्धता जनाएका छन् ।


चन्द समूहले गरेको विस्फोटबाट यो अवधिमा चन्द समूहका ५ सहित ६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७ घाइते छन् । प्रहरी र चन्द समूहबीचको दोहोरो भिडन्तमा फागुनमा दुई प्रहरी घाइते भएका थिए । यो अवधिमा २३ नाल हतियार बरामद भएका छन् । तीमध्ये एएम १६–ए टु एक थान, एलएमजी र एसएलआर जस्ता अत्याधुनिक हतियारसहित ‘३०३ राइफल’ ३ थान, ७ थान पेस्तोल, ३ थान रिभल्वर र ५ थान घरेलु हतियार पनि बरामद गरेको छ । चन्द समूहका कार्यकर्ताबाट चार सय १७ राउन्ड गोली र ४ डेटोनेटर पनि यो अवधिमा प्रहरीले बरामद गरेको छ ।


प्रहरीका एक उच्च अधिकारीले चन्द समूहसँग सामान्य मात्रै नभएर अत्याधुनिक हतियार रहेको र तीमध्ये केही जनयुद्धकालीन र केही हालसालै किनिएका हुन सक्ने बताए । गृहमन्त्री रामबहादुर थापाले यसअघि नै चन्द समूहको शक्ति बढदै गएको र चारवटा सैन्य कम्पनी निर्माण गरेको संसद्मै जानकारी गराएका थिए । प्रहरीको गोलीबाट मृत्यु भएका तीनजना चन्द समूहका नेता–कार्यकर्ताको साथबाट प्रहरीले हतियार बरामद गरेको देखिन्छ । जेठ पहिलो साता भोजपुरको ट्याम्केमा मारिएका तीर्थराज घिमिरेको साथबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने ५ थान गोली, ४ थान डेटोनेटर बरामद गरेको प्रहरीको दाबी छ ।


त्यस्तै सर्लाही घटनामा मृत्यु भएका कुमार पौडेलको साथबाट सिक्सर रिभल्वर, त्यसमा लाग्ने ४ थान गोली र एक थान कटुवा पेस्तोल बरामद गरेको प्रहरीले बताएको थियो । बुधबारको घटनामा मारिएका चन्द समूहका कार्यकर्ताबाट पनि प्रहरीले चाइनिज पेस्तोल फेला परेको दाबी गरेको छ । यी तीनै घटनामा प्रहरीले दोहोरो भिडन्त दाबी गरेको छ भने तीनै मृतकको साथबाट बन्दुक फेला पारेको देखिन्छ ।

मुख्य पृष्ठ

सँगै चियापान, अनि गोली हानाहान

चन्द समूहका ओखलढुंगा इन्चार्ज र एक प्रहरी जवान मारिए
- एलिसा श्रेष्ठ
प्रहरी र चन्द समूहका कार्यकर्ताबीच बुधबार गोली हानाहान भएको भोजपुर नगरपालिका–७ मा रहेको हाट क्षेत्र ।तस्बिर ः अर्जुन बस्नेत/कान्तिपुर टेलिभिजन

(भोजपुर) - सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबुलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए ।


प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुई दिनयता चिया पसलमा आउने/जाने गरिरहेका थिए । बुधबार पनि बिहानै आएर अरू मान्छेसँग ‘हेलोहाई’ गरिरहेका थिए । करिब साढे ८ बजे सञ्जीव आइपुगे । दुवैले ‘दाइभाइ’ को साइनो पनि लगाए । अभिवादन साटासाट गरे । सञ्जीव सुराकीका लागि चिया पसल छिरेका थिए । गफकै क्रममा नीरकुमारले सञ्जीवलाई भने, ‘विप्लवको पार्टीमा लाग्यो भन्दैमा मलाई किन खेदो गर्छौ ? पार्टीमा लाग्नु आस्थाको कुरा हो ।’ सञ्जीवले सहज ढंगले उत्तर फर्काए, ‘हामी दुवै राई भएकाले भाइभाइ हो । के गर्नु र ?’


सञ्जीवले यति भनेपछि नीरकुमार पिसाब गर्न जाने भन्दै पसलबाट निस्कन खोजे । सञ्जीवले नीरकुमारको पाखुरा समाते । ‘गफ गरौं, तपार्इं कहाँ जान लागेको ? अहिले नजानुस्, अरू साथी आउँदै छन्,’ सञ्जीवको भनाइ उद्धृत गर्दै प्रत्यक्षदर्शीले कान्तिपुरलाई सुनाए । दुवै जनाबीच तानातान भयो । चन्द समूहका हतियार बोकेका कार्यकर्ता दगुर्दै होटल अघिल्तिर आए । त्यतिबेला तानातानकै क्रममा नीरकुमार र सञ्जीव होटल बाहिर पुगिसकेका थिए । चन्द समूहका कार्यकर्ताले सञ्जीवलाई गोली प्रहार गरे । त्यति नै खेर सादा पोसाकका हतियारधारी प्रहरी पनि घटनास्थलमा आइपुगे । प्रहरीले पनि नीरकुमारलाई गोली प्रहार गरे । दुवै जना गोलीले ढलेपछि चन्द समूहका चार जना कार्यकर्ता त्यहाँबाट भागे । प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ ।


होटल बाहिर हटियामा आएका सर्वसाधारण भागाभाग गर्न थाले । ‘गोली चलेपछि तरकारी पसले र ग्राहकको भागाभाग भयो, कोही डरले रुनसमेत थाले’ एक प्रत्यक्षदर्शीले भने । घटनामा एक प्रहरी घाइते छन् । जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ । बुधबारे हाटबजार आसपास चन्द कार्यकर्ता आएको गोप्य सूचनाका आधारमा पक्राउ गर्न गएका प्रहरी जवान राईलाई चन्द कार्यकर्ताले गोली चलाएको प्रहरीको दाबी छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ५ सय मिटर दूरीमा छ ।


‘चन्द समूहका हतियारधारी कार्यकर्ता रहेको गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिने अभिप्रायले सादा पोसाकमा प्रहरी खटिएका थिए,’ प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने, ‘हाट नजिकै रहेको पान्धारे होटलमा एक शंकास्पद मानिस भेटिएपछि पक्राउको प्रयास गर्दा अचानक प्रहरी जवान सञ्जीवमाथि गोली प्रहार भयो ।’ नीरकुमारले सञ्जीवको कोखमा गोली प्रहार गरेपछि सँगै सादा पोसाकमा रहेका प्रहरीले आफ्ना साथीलाई जोगाउन र नीरकुमारलाई पक्राउ गर्न खोज्दा तानातान भएर नीरकुमारलाई गोली लागेको खतिवडाको दाबी छ । मृतक प्रहरी जवान सञ्जीवको घर खोटाङ हो ।


चन्द समूहका एक नेताले भने प्रहरी जवान सञ्जीवको मृत्यु प्रहरीकै गोलीबाट भएको दाबी गरे । ‘प्रशान्त (नीरकुमार) ओखलढुंगा सेक्रेटरी हुन्, उनी पार्टर्मीा बिदा लिएर घर गएका थिए । उनले कुनै किसिमको हतियार बोकेका थिएनन्,’ ती नेताले दाबी गरे, ‘घम्साघम्सीका क्रममा प्रहरीले चलाएको गोली नै सञ्जीवलाई लागेको हो ।’ नीरकुमारको घर भोजपुर षडानन्द १४ बोया हो । चन्द समूहको गोलीले घाइते प्रहरी जवान खेमनाथ भट्टराईको कुमको हड्डी भाँचिएको प्रहरीले जनाएको छ ।

Page 2
समाचार

मेचीको भेलले घेरियो बस्ती

- अर्जुन राजवंशी
वर्षापछि जलमग्न विराटनगरस्थित कोसी अञ्चल अस्पताल परिसरबाट बाहिरिँदै सेवाग्राही । अस्पताल प्रांगणमा बुधबार घुँडासम्म पानी जमेपछि बिरामीलाई आउजाउमा कठिनाइ भएको थियो । तस्बिर ः लीलावल्लभ घिमिरे/कान्तिपुर

(बिर्तामोड) - सिमानापारिको नेपाली बस्ती ‘भाङबारी’ मेची नदीको घेराबन्दीमा परेको छ । मेची नदीमा पुल नहुँदा मंगलबारदेखि नगरपालिकाको कार्यालय आउने भाङबारीका बासिन्दाको संख्या ≈वात्तै घटेको छ । भाङबारी बर्सेनि वर्षामा डुबानमा पर्ने गरेको छ । ‘हामी पुस्तौंदेखिको बाढीपीडित,’ ६२ वर्षीय गाउँनियार राजवंशीले भने, ‘पानी पर्न थालेपछि हामी खोला हेर्दै बस्छौं । बाढीले हाम्रो घर नडुबाएको मलाई याद छैन ।’


१६४ घरधुरीको भाङबारी मेची नदीमा चल्ने एउटा ढुंगाको भरमा धानिएको छ । भारतीय एसएसबीले वर्षौं पुरानो बाटो हिंडडुल गर्न अवरोध खडा गर्ने गरेको स्थानीय बताउँछन् । ‘वर्षातमा बस्तुभाउ बाँध्ने ठाउँसम्म हुँदैन । सबैतिर पानी नै पानी हुन्छ,’ हावालाल राजवंशीले भने, ‘पुर्ख्यौली ठाउँ हो । छाडेर अन्यत्र जान सकिएन तर बसाइ सधैं कष्टपूर्ण छ ।’ पानी पर्दा स्थानीय बासिन्दाको दैनिक रोजगारी बन्द हुन्छ । ‘मजदुरी गर्न भद्रपुर बजार पुग्नुपर्छ । भद्रपुर जान मेची नदी तर्नुपर्छ । ठूलो बाढी आउँदा नदीमा ढुंगा चल्दैन,’ वीरेन राजवंशीले भने ।


वर्षातमा करिब दुई महिना त्रासपूर्ण बसोबास हुने गरेको दिनो गणेशले बताइन् । मेची नदीका दुई वटा भङ्गाला छन् । एउटा भारतीय बस्ती भएर बग्छ । अर्को भाङबारी नजिकैबाट । दुई वर्षदेखि लगातार तटबन्ध गरेर भारतले आफूतर्फको भङ्गालाको पानीको धार मेची नदीमा फर्काएको छ । डुबान र कटान हुँदै आएको भाङबारीमा ३५० मिटर तटबन्ध गरिएको छ । सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत जनताको तटबन्ध कार्यालयले यो वर्ष उक्त तटबन्ध गरेको हो । १६ फिटे बाटोसहित ६० लाख रुपैयाँ लागतमा तटबन्ध गरेको जनताको तटबन्ध कार्यालय गैडेका प्रमुख मेखनाथ शर्माले जानकारी दिए । ‘यो तटबन्धले थोरै भए पनि गाउँ कटान हुनबाट जोगिन्छ कि भन्ने लागेको छ,’ विपिन राजवंशीले भने, ‘यो गाउँलाई कटान र डुबानबाट बचाउन थप तटबन्ध गर्न जरुरी छ ।’ वर्षातमा चारैतिर पानी नै पानी हुने गरेकाले गाउँका करिब तीन दर्जन विद्यार्थी नियमित विद्यालय जान नसक्ने गरेको शान्ति राजवंशीले बताइन् ।


भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठले मेचीपारिको बस्तीलाई कटान र डुबानबाट जोगाउन अत्यन्त जरुरी रहेको बताए । ‘तर, त्यो काम हामी स्थानीय तहबाट सम्भव छैन । संघीय सरकारले नै गम्भीर भएर बजेट दिनुको विकल्प छैन,’ उनले भने । उनले संघीय सरकारसँग बजेट माग भइरहेकाले आगामी वर्षहरूमा थप काम हुनेमा आफू आशावादी रहेको बताए ।


जलमग्न बन्यो महानगर
विराटनगर– अविरल वर्षाका कारण प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका बजारक्षेत्र बुधबार जलमग्न बनेको छ । सडक, ढल निर्माण क्रममा रहेको महानगर सामान्य वर्षा हुनासाथ अस्तव्यस्त बन्ने गर्छ । योजनाबद्ध निर्माण नभएका कारण यस्तो भएको विराटनगर ४ का नवराज ढकाल बताउँछन् । ‘सबैतिर खनिएको छ,’ उनले भने, ‘वैकल्पिक बाटो बनाएर मुख्य बाटामा काम गर्दा राम्रो हुने थियो ।’ कोसी अञ्चल अस्पतालको प्रमुख प्रवेशद्वार नजिक सडक निर्माणको काम भइरहेकाले अस्पताल परिसरमा बुधबार बिहानको वर्षाले घुँडासम्म आउने गरी पानी जम्यो । यसले गर्दा बिरामीलाई आउजाउ गर्न कष्ट भएको थियो । निकासका लागि ढल निर्माण भइनसकेकाले अस्पताल डुबानमा परेको हो । यसैगरी आदर्श विद्यालय परिसरको मैदान पनि जलमग्न थियो ।


बजार क्षेत्रमा सडक र ढल निर्माण भइरहेकाले वर्षामा सर्वसाधारणलाई हिँडडुल गर्न मुस्किल भएको छ । बजारको अधिकांश क्षेत्र हिलाम्मे छ । जनआन्दोलन चोक, हिमालय मार्ग, जलजला मोड, रंगेली रोड, देवकोटा चोकलगायत क्षेत्र हिलाम्य हुँदा आउजाउमा समस्या थियो । वर्षाका कारण विराटनगरको सहिद रंगशालाको मैदानमा पूरै पानी जमेको छ । बिहीबारदेखि यो मैदानमा पहिलो ‘मुख्यमन्त्री कप प्रदेश लिग फुटबल’ हुने कार्यक्रम थियो । मैदानमा पानी भरिएपछि खेल धरानमा हुने भएको छ ।

समाचार

शिक्षकबाट कुटिएका छात्रको मृत्यु

- कान्तिपुर संवाददाता

कञ्चनपुर (कास)– पाँच वर्षको उमेरमा बुबा बृहस्पति कलौनीले छोरा माधवलाई राम्रो पढाइका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका ५ वनगाउँस्थित मामाको घरमा पठाए । बैतडीको शिवनाथ गाउँपालिकाबाट यहाँ ल्याएलगत्तै उनलाई नजिकैको महाकाली बाल विद्यालयमा एलकेजीमा भर्ना गरियो । दशकसम्म सोही स्कुलमा अध्ययन गरेका १५ वर्षीय माधवको मंगलबार राति शिक्षकको कुटाइकै कारण मृत्यु भयो । २ साताअघि कुटिएका उनको भारतको बरेलीस्थित मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो ।


परिवारका अनुसार माधवलाई महाकाली बाल विद्यालयका ३ शिक्षकले हात र लाठीले धेरै कुटेका थिए । स्कुलमा ग्याङ फाइट गरेको र खुकुरी बोकेको भन्दै असार १३ गते प्रिन्सिपल यशोदा जोशी तथा शिक्षक हर्कबहादुर जाग्री, लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकले कुटपिट गरेको परिवारको दाबी छ । उनीहरूले माधवसंँगै सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत आदित्य विकेलाई समेत कुटपिट गरेका हुन् । कुटपिटपछि माधवलाई विद्यालयबाट निकाला गरेर मामा पुष्पमणि जोशीको जिम्मा लगाएका थिए । पुष्पमणिले पनि उनलाई खुकुरी बोकेको भन्दै झपारे । त्यसपछि उनलाई घर लगे । घरमा गएपछि दिउँसै सुतेका उनले सांँझ पनि खाना नखाएको पुष्पमणिले बताए । भोलिपल्ट बिहानै स्कुलमा लगेर स्थानान्तरण प्रमाणपत्र र अन्य सर्टिफिकेट निकालेर बुवा बृहस्पतिले घरतर्फ लगेको उनले बताए । ‘यहाँबाट जाँदा उनी राम्ररी हिँड्न सकिरहेका थिएनन्, तर हामीले यति धेरै चोट लागेको छ भन्ने थाहै पाएनौं,’ पुष्पमणिले भने, ‘घर जांँदा डडेलधुरामा एक्सरे गरेपछि खुट्टा भाँचिएको देखियो, त्यहांँ प्लास्टर गरी घर लगियो ।’


उनका अनुसार घर पुगेपछि छातीमा पनि दुखाइ भएपछि असार १८ गते महेन्द्रनगर ल्याएर महाकाली अञ्चल अस्पतालमा भर्ना गरियो । यहांँबाट सोझै बांँकेको कोहलपुर मेडिकल कलेज रिफर गरियो । त्यहांँ पनि निको नहुने भएपछि उनलाई ३ दिनअघि मात्रै बरेलीस्थित राममूर्ति मेडिकल कलेज लगिएको हो । प्रहरीले तीनै शिक्षकसहित प्रिन्सिपल जोशीलाई नियन्त्रणमा लिएको छ । ‘हामीले उनीहरूकै सुरक्षाका लागि नियन्त्रणमा लिइराखेका हौं,’ जिल्ला प्रहरी कार्यालयका एसपी जनकराज पाण्डेयले भने, ‘अब पीडित परिवारको जाहेरी आएपछि थप अनुसन्धान अघि बढ्छ ।’


के भन्छन् माधवका साथी ?
माधवसँंगै कुटाइ खाएका आदित्यका अनुसार असार १० गते स्कुलनजिकैको विवाहमा कक्षा १० मा अध्ययनरत विमल खडका र दिवस पाठकसँंग माधवको सामान्य विवाद भएको थियो । भोलिपल्ट स्कुलमा माधवले विमललाई पिटेका थिए । विमलले पनि आफ्ना साथीहरू जम्मा पारेर माधवलाई पिटे । यही विषय शिक्षककहांँ पुगेपछि माधवमाथि कुटपिट भएको हो ।


‘हामीहरू दुवैलाई कक्षाकोठाबाट अफिसमा बोलाइयो, त्यहांँ पुगेपछि तीनै जनाले किन झगडा गरेको भन्दै हात र लाठीले पिट्न थाले,’ आदित्यले भने, ‘हामीलाई विमलहरूको खुट्टा छुन लगाइयो, त्यतिबेला पनि माथिबाट पिटे ।’ उनले त्यसपछि दुवैजनालाई अभिभावक बोलाउन पठाएको बताए । असार १२ गते नै बाहिरबाट आएको एक समूह खुकुरीसहित विद्यालयमा पसेको थियो । आदित्यले उक्त खुकुरी खोसेर आफ्नो घरमा लुकाए । दोस्रो दिन शिक्षकहरूले सोही खुकुरी देखाएर प्रहरी बोलाई अभिभावकको जिम्मा लगाएको उनले बताए । माधवका सहपाठीहरूका अनुसार उनी पढाइ र व्यवहारमा सामान्य थिए । साथीभाइसंँग राम्रै व्यवहार थियो । पढाइमा पनि राम्रै थिए । ‘हामीसंँग त कहिल्यै झगडा भएन, तर आज यस्तो घटनाले सबै दुःखी छौं,’ सानैदेखि एउटै बेन्चमा बसेर अध्ययन गरेका दीपक खडकाले भने, ‘पढाइमा पनि उनी राम्रै थिए ।’


माधवलाई बरेली लैजानुअघि विद्यालयमा पीडित परिवार, विद्यालय प्रशासन र वडा १७ का अध्यक्ष बसेर उपचारका लागि सहयोग गर्ने सहमति भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष निरञ्जनप्रसाद बोहराले बताए । उनका अनुसार असार १२ गते विद्यालयमा रिजल्ट आएको थियो । १३ गते उनी पनि रिजल्टबारे जानकारी लिन जांँदा २ जनालाई कार्यालयमा उभ्याएर सोधपुछ भइरहेको थियो । ‘मैले बुझ्दा सामान्य रूपमा थपड हानेको भन्थे, यति ठूलो चोट त हानेको जस्तो लाग्दैन,’ उनले भने, ‘१३ गते पिटेको भन्दै ३/४ दिनपछि कुरा बाहिर आएको छ, यो बीचमा अन्यत्र पनि केही भएको हुन सक्छ ।’ एसपी पाण्डेयले माधवको मृत्यु शिक्षककै कुटाइबाट वा अन्य कारणले भएको विषय तत्काल केही भन्न नसकिने बताए । उनले असार १८ गते नै घाउजांँच गरिएको बताए ।


घाउजांँचको रिपोर्ट भने अझै आइनसकेको उनले बताए । सोही दिन पीडित पक्षले तीनै शिक्षकका नाममा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । तर दोस्रो दिन विद्यालयमा सहमति भएपछि जाहेरीको कारबाही प्रक्रिया रोकिएको प्रहरीले जनाएको छ । माधवका मामा पुष्पमणिले प्रिन्सिपल जोशीसहित तीनै शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जनप्रसाद बोहराका नाममा किटानी जाहेरी दिएका छन् । बुधबार कार्यालय समयपछि जाहेरी आएकाले बिहीबार दर्ता हुने प्रहरीले जनाएको छ ।

समाचार

बस खस्दा ३ को मृत्यु

- कान्तिपुर संवाददाता

 

ओखलढुंगा (कास)– काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ आउँदै गरेको बस मानेभन्ज्याङ गाउँपालिका–६, डडुवामा बुधबार दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसचालक झापा पथरियाका ४५ वर्षीय कृष्ण थापा, सोलु दूधकुण्ड नगरपालिका–५ की ५२ वर्षीया माया थापा र सिन्धुली कमलामाईका ३५ वर्षीय लालबहादुर धामी छन् । मातृ भाग्यरेखा प्रालिको मे१ख १८९१ नम्बरको रात्रिबस बिहान करिब साढे ३ बजे सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दूधकुण्ड नगरपालिका ५ सोलुका मित्रबहादुर थापा, कोहलपुर १, बाँकेका कृष्ण गौतम, नेचा–सल्यान ५ सोलुका मदन कट्टेल र इलाम देउमाई १ घर भई सोलु पञ्चन माइती भएकी अनिशा लिम्बूको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने केहीले धुलिखेलमा उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । घटनास्थलको प्रकृति हेर्दा चालक निदाएको हुन सक्ने अनुमान प्रहरीको छ ।

समाचार

नक्कली भिसामा अध्यागमनको छाप

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डिपार्चर छाप लगाएर सिर्जन गौतम, निरन्जन पराजुली र प्रकाश भुसाल क्यानडाका लागि उडे । तर, तीनै जना ट्रान्जिट रहेको चीनको गोन्जाओबाट अघि बढ्न पाएनन् । क्यानडाको नक्कली भिसा रहेको भन्दै चिनियाँ अध्यागमन अधिकारीहरूले उनीहरूलाई फर्काइदिए ।


यो घटनालगत्तै सक्कली र नक्कली भिसासमेत नछुट्याई अध्यागमन अधिकृतले कसरी उडान अनुमति दिए भन्नेबारे अध्यागमन विभागले छानबिन सुरु गरेको छ । स्रोतका अनुसार अनुमति दिन संलग्न दुई अध्यागमन अधिकृतलाई विभागले प्रारम्भिक सोधपुछ गरेको छ । विभागले यो प्रकरण छानबिन गर्न प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोमा पनि सम्पर्क गरेको थियो । तर ब्युरोले मानव बेचबिखनभन्दा नक्कली भिसाको विषय भएकाले केन्द्रीय अनुसन्धान ब्युरोमा अनुरोध गर्न सल्लाह दिएको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरी पौडेलले उक्त घटनाबारे आफूहरूले अनुसन्धान सुरु गरिसकेको कान्तिपुरसँग बताए ।


अध्यागमन जाँच प्रणालीले नै नक्कली भिसा पत्ता लगाउन नसकेको हो वा अध्यागमन अधिकारीले कसैको प्रभावमा छाप लगाइदिए भन्नेबारे भन्ने खुलिसकेको छैन । अध्यागमनका एक उच्च अधिकारीले भने अध्यागमन अधिकृत कसैको प्रभावमा परेको हुन सक्ने संकेत मिलेको बताए । उनका अनुसार उक्त दिन राहदानीमा छाप हान्ने कि नहान्ने भन्ने विषयमा अध्यागमन अधिकृतहरूकै मत बाझिएको र केही अध्यागमन अधिकृतको जोडबलमा छाप हानेर पठाइएको बुझिएको छ ।

समाचार

शान्तिपूर्ण समाधान खोज : कांग्रेस

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रमुख प्रतिपक्ष कांग्रेसले सरकार र विद्रोही नेत्रविक्रम चन्दलाई शान्तिपूर्ण समाधानको विकल्प खोज्न आग्रह गरेको छ । भोजपुर घटनापछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै चन्द समूहलाई हिंसात्मक गतिविधि छोड्न र सरकारलाई वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका हुन् । ‘फेक इन्काउन्टर’ बढ्न थालेको भन्दै कांग्रेसले यो विषयलाई दुवै पक्षले गम्भीरतापूर्वक लिनुपर्ने जनाएको छ । ‘शान्तिसुरक्षाको जिम्मेवारी सरकारको भएको तर सरकारी दायित्वका नाममा जनताको रगतमा होली नखेल्न’ कांग्रेसले चेतावनी दिएको छ । त्यस्तै सर्लाही घटनाका सम्बन्धमा यथाशीघ्र संसदीय छानबिन समिति गठन गर्न पनि माग गरेको छ । विज्ञप्तिमा दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्य पुनः सामना गर्न तयार नरहेको उल्लेख छ ।

समाचार

पहिरोले गाउँ च्यापेपछि बसाइँ

- आश गुरुङ

(लमजुङ) - मर्स्याङ्दी गाउँपालिका ५ माथिल्लो चिप्लामा करिब तीन दशक पुरानो पहिरोले स्थानीयलाई विस्थापित बनाएको छ । पहिरोले बगाउन लागेपछि रामबहादुर गुरुङले गत वर्ष घेर्मुफाँटमा बसाइँ सारे । सरकारबाट स्थानान्तरणको प्रभावकारी काम नभएपछि आफ्नै खर्चले घर बनाएको उनले बताए । मनजित गुरुङ ५ वर्षअघि नै गाउँमाथिको क्रमुचेमा सरिसकेका छन् । बेलबहादुर गुरुङ प्रोजु डाँडा पुगेका छन् । आफैं घर बनाउन नसकेपछि उनलाई बेलायतवासी बाहुनडाँडा, ताघ्रिङ र घेर्मु (बाघेता) समाजले सहयोग गरेको थियो ।


सुबजंग गुरुङ, रामबहादुर गुरुङ, धनसुब्बा गुरुङलगायत पनि क्रमुचे सरेका छन् । माथिल्लो गाउँका श्रीप्रसाद गुरुङ, प्रेमबहादुर गुरुङ, मनराम गुरुङ, कुमेर गुरुङलगायत घर बनाउने तर्खरमा छन् । स्थानीय कविजंग गुरुङले पानी पर्न थालेपछि पहिरोले गाउँलाई च्याप्दै आएको बताए । ‘कुन बेला के हुन्छ, थाहा छैन । वर्षौंदेखिको पहिरो जोखिमपूर्ण बन्दै गएको छ । दिउँसो घरमै, पानी पर्न थालेपछि अन्तै बस्नुपरेको छ,’ उनले भने । स्थानीयका अनुसार गाउँमा पहिरो जान थालेको करिब ३ दशक भयो । एक दशकयता विस्थापित नै हुनुपर्ने गरी च्याप्दै लगेको छ । ‘हामी विस्थापित हुन थालेपछि सरकारलाई हारगुहार गर्‍यौं तर केही लागेन,’ रामबहादुरले भने, ‘१० वर्षदेखि सारिदिन माग गरिरहेका छौं । विज्ञ आउँछन्, जान्छन्, के हुन्छ–हुन्छ ।’ २०७२ को भूकम्पपछि भने सरकारले पहिलेभन्दा केही चासो देखाएको उनलाई लाग्छ ।


स्थानीय कुमेर गुरुङका अनुसार पहिरोको जोखिम बढेपछि स्थानीय विस्थापित भएर आफ्नै ढंगले अस्थायी घर निर्माण गरी बस्न थालेका छन् । गत वर्ष गाउँका ७ परिवार करिब आधा घण्टा माथिको क्रमुचे डाँडामा गएर बसेका छन् । एक जना प्रोजु डाँडामा सरेका छन् । क्रमुचेमा ४ र प्रोजु डाँडामा एउटा घर सर्ने तयारीमा रहेको उनले बताए । ‘सर्ने ठाउँ यताउता हेरेर बनाइएला । काम गर्ने त्यही भीरपाखा हो,’ उनले भने, ‘खेतबारी पनि सुरक्षित छैन । बाध्यताले काम गर्नुपर्छ ।’ नान्तरणको काम सुरु भए पनि वास्तविक पीडित सूचीमा छुटेको कुमेरले बताए । ‘विज्ञ आउँदा हामीले धेरै जोखिम भएका घरपरिवारको नाम दियौं । उहाँहरूले पनि टिप्नुभयो । अहिले नाम आउँदा अहिलेको भोलि नै सर्नुपर्ने, विस्थापित भएर बसेकाको नाम छैन,’ उनले भने, ‘छुटेका घरपरिवारको नाम छिटो सिफारिस गरिदिन माग गर्छौं ।’ स्थानीयका अनुसार गाउँको जमिन ठाउँठाउँ चिरिएको छ । धारापँधेरामा धाँजा फाटेका छन् । स्कुल पनि जोखिममा छ ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका निमित्त प्रमुख जगदीश मिश्रले उपल्लो चिप्लाका १७ घर स्थानान्तरणका लागि स्वीकृत भएको बताए । कार्यालयको फाइलमा भने १९ को नाम छ । मिश्रका अनुसार उच्च जोखिमका आधारमा प्राधिकरणबाट स्वीकृत भएर आएको हो । लाभग्राही सूचीमा परेकालाई घर निर्माणका लागि सरकारले ३ लाख रुपैयाँ अनुदान व्यवस्था गरेको छ । जग्गा नभएकालाई जग्गा खरिद गर्न थप २ लाख उपलब्ध गराइनेछ ।


चिप्लाका १० परिवारसँग जग्गा छ । ७ परिवार किन्नुपर्ने अवस्थामा छन् । केहीले पहिलो किस्ता लगेर घर बनाउन थालेका छन् । केही प्रक्रियामा छन् । वडाले सम्झौतामा ढिलाइ गरेकाले पुनर्निर्माणमा अलमल बढेको मिश्रले बताए । लाभग्राही सूचीमा नपरेको मागदाबी अनुसार ४ घरलाई स्वीकृतिका लागि प्राधिकरण पठाइएको उनले जानकारी दिए । चिप्लामा ८५ घरधुरी रहेकामा क्रमशः बसाइँ सरिरहेकै छन् । अहिलेसम्म पहिरोले ११ सय हेक्टर जग्गा बगाएको र सामुदायिक वनमा समेत क्षति पुर्‍याएको कुमेर गुरुङले बताए । उनका अनुसार पहिरो करिब २२ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

समाचार

झरी परे जाग्राम

- नवीन पौडेल

(परासी) - पश्चिम नवलपरासीको दक्षिणी सीमाक्षेत्रका बासिन्दालाई बर्खामा राम्ररी निद्रै पर्दैन । कतिखेर नारायणी र खहरे उर्लेर उठिबास लगाउने हो, पत्तो हुँदैन । अहिले पनि ३ दिनदेखि झरी नथामिँदा उनीहरू जाग्राम बसिरहेका छन् । स्थानीय खोला, नहर तथा नारायणीमा पानीको सतह बढेको छ । यो दृश्यले सुस्ता गाउँपालिका ४ का बच्चु कोइरीको मन बादलजस्तै मडारिन थालेको छ । श्रीमती र साना छोराछोरी छाडेर काममा जान सकेका छैनन् । घर चुहिएर पानीपानी छ । ‘दुई वर्षअघिको बाढीले अन्नपात बगाएको थियो,’ उनले भने, ‘३ दिनदेखि पानी परिरहेकाले परिवार छाडेर काममा जान मन लागेन ।’ प्रतापपुर ८, फडकीटोलाकी बासमती मुसहर पनि यस्तै चिन्तामा छिन् । गत वर्ष बस्ती डुबानमा परेको थियो । खहरेमा आएको बाढीले खोरका बाख्रा बगायो । बासमतीले बल्लतल्ल छोराछोरी र आफ्नो ज्यान जोगाइन् । अन्नपात बगाएपछि ज्यालादारी गरेर गुजारा गर्नुपर्‍यो । ‘२ दिनसम्म बस्तीनजिकै टाँडीमा बितायौं,’ उनले भनिन्, ‘यो बस्ती छाड्न मन छ ।’ आर्थिक अभावले सुरक्षित स्थानमा जग्गा किनेर बसाइँ सर्न नसकेको उनको भनाइ छ । घर सामान्य मर्मत गरेर बसिरहेका छन् । ‘हरेक वर्ष यो समस्या आउँछ,’ बासमतीले भनिन्, ‘बाढी आएका बेला राहत लिएर आउँछन् । बाढी रोक्दैनन् ।’ एक दशकअघिसम्म बस्तीमा डुबानको समस्या थिएन । ‘पहिले खोला गहिरो थियो,’ स्थानीय बृजेश चौधरीले भने, ‘अहिले बाढीले खोला र नहरमा बालुवा र माटो जम्मा गरेकाले पानीको सतह बढेको हो । त्यसले बस्ती डुब्न थाले ।’


गत वर्ष फडकीखोलाका १ सय १५ घर डुबानमा परेका थिए । ती पीडितले अहिलेसम्म राहत पाएका छैनन् । बाढी आएका बेला २/४ किलो चामल, भुजा र नुनबाहेक सहयोग नपाएको उनीहरूको गुनासो छ । राइपुरवा खोला र साना नहरमा पानीको सतह बढेर बर्सेनि डुबान हुने गरेको हो । बाढी नियन्त्रणका लागि अहिलेसम्म पहल गरिएको छैन । प्रतापपुर, सरावल र सुस्ता गाउँपालिका प्राकृतिक प्रकोपको जोखिममा छन् । यहाँ सरकारी तथा गैरसरकारी संघसंस्थाले जोखिम न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जिल्ला दैवि प्रकोप उद्धार समिति क्षति न्यूनीकरणका लागि चौबीसै घण्टा तयारी अवस्थामा रहेको बताए । ‘सुरक्षा निकायको विशेष टोली, स्थानीय र संघसंस्थाको सहयोगमा स्पेसल फोर्स तयारी अवस्थामा छ,’ उनले भने, ‘हरेक स्थानीय तहमा छुट्टै समिति गठन भएका छन् ।’ प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले यस वर्ष स्थानीय खोलामा तटबन्ध र सफाइ गरेर गहिरो बनाइएकाले क्षति कम हुने दाबी गरे । ‘यस वर्ष तटबन्ध र घोल सफाइ गरेका छौं,’ उनले भने, ‘उद्धार र सहयोगका लागि स्थानीय तह तमतयार अवस्थामा छन् ।’ खोलानालावरपर बस्ती र खेती गर्ने क्रम बढ्दो छ । अतिक्रमण गरेर नदी किनारमा बसोबास गरिएको छ । चुरेबाट आउने ढुंगा, बालुवाले खोला पुरिँदै गएका छन् ।


कार्यविधिको चटारो
जिल्लाका ५ गाउँपालिका र २ नगरपालिका बाढी/पहिरोको जोखिममा छन् । बर्सेनि हजारौं बिघा खेत डुबानमा पर्छ । स्थानीय विस्थापित हुने गरेका छन् । यस्तो जोखिमबारे जानकारी रहेका स्थानीय तह बल्ल आएर यससम्बन्धी ऐन र कार्यविधिको तयारी गरिरहेका छन् । कार्यविधि बनाएकाले पनि न्यून बजेट विनियोजन गरेका छन् । रामग्राम नगरपालिकाले विपद् व्यवस्थापन तथा पूर्वतयारी ऐन निर्माण गरेको छ । कार्यविधिमा प्रत्येक वडामा विपद् व्यवस्थापन पूर्वतयारी समिति गठन गरेर समस्या समाधान गर्नुपर्ने व्यवस्था गरिएको छ । पाल्हीनन्दन गाउँपालिकाले विपद् कोष व्यवस्थापन कार्यविधि तयार गरेर लागू गरेको छ । जसमा गाउँपालिका अध्यक्षको संयोजकत्वमा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजक, जिल्ला वा प्रहरी कार्यालयका प्रतिनिधि, इन्जिनियर/प्राविधिक शाखा प्रमुख, नेपाल रेडक्रस सोसाइटीको शाखा प्रतिनिधि, गाउँपालिकाको स्वास्थ्य प्रतिनिधि सदस्य र योजना शाखा प्रमुख सदस्य–सचिव रहने गरी समिति बनाइएको छ । प्रकोपबाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरूप १५ हजार रुपैयाँ, घर पूर्ण रूपमा नष्ट भए ५ हजार, आंशिक क्षति भए ३ हजार र घाइतेलाई उपचारका लागि यातायात खर्चस्वरूप ५ सय रुपैयाँ दिने व्यवस्था गरिएको छ ।


सुस्तामा साइरन
सुस्ता गाउँपालिकामा अहिलेसम्म पनि विपद् व्यवस्थापनको कार्यविधि र ऐन निर्माण भएको छैन । एक जना स्रोतव्यक्तिसम्म तोकिएको छ । यहाँ नारायणीले जग्गा कटान गर्नुका साथै बस्ती डुबानमा पर्छ । बाढीबाट हुने क्षति न्यूनीकरणका लागि यहाँ जलमापन केन्द्रमार्फत पानीको सतह मापन गर्ने प्रविधि भने जडान गरिएको छ । पानीको सतह ८ मिटरभन्दा बढी भएपछि खतराको सूचक रातो बत्ती बलेर साइरन बज्न थाल्छ । यसबाट स्थानीय र प्रशासन दुवैलाई बाढी आउन लागेको पूर्वसूचना प्राप्त हुन्छ । स्थानीय विपद् व्यवस्थापन समितिका सहजकर्ता मन्सी गुप्ताका अनुसार पहिले बाढी आउने/नआउने थाहा नपाएर क्षति बढी भएको भए पनि अहिले बाढीको पूर्वसूचना पाउने हुँदा स्थानीयले समेत राहत महसुस गरेका छन् ।

Page 3
समाचार

यस्तो थियो माधव नेपाल मन्त्रिपरिषद्को निर्णय

बालुवाटार जग्गा
- कृष्ण ज्ञवाली
भूमाफिया भनेर चिनिने शोभाकान्त ढकाल र रामकुमार सुवेदीको डिजाइनअनुकूल हुने गरी सरकारले प्रधानमन्त्री निवास विस्तार
मात्रै गरेन, नक्कली मोही र जग्गाधनीलाई लालपुर्जासमेत दिलायो ।

(काठमाडौं) - नापी कार्यालयको रेकर्डअनुसार बालुवाटारस्थित साविक नगरको २३ क्ष – कित्ता नम्बर ७६ को जग्गा पर्ती हो । २ रोपनी १२ आना क्षेत्रफलको उक्त जग्गा नयाँ नापीअनुसार सिट नम्बर १०२५–१४ अन्तर्गत ३८, १२ र २१ नम्बर कित्तामा बाँडिएको छ । त्यसमा समेत पर्ती रहेको जनाइएको छ । ०६६ माघ १० गते मालपोत कार्यालय डिल्लीबजारले भवन निर्माण सम्भार डिभिजन कार्यालयलाई लेखेको चलानी नम्बर ९००९ को पत्रमा भने पर्ती जनिएको उक्त जग्गामा ‘डाइवर भाइचा’ मोही रहेको उल्लेख छ । तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर खापुङले उक्त पत्र पठाएका हुन् । जग्गाको खनजोत गरी जग्गाधनीलाई निश्चित अन्नबाली बुझाउने किसानलाई मोही भनिन्छ । सरकारी जग्गामा मोही लाग्दैन ।


बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा पटक–पटकको प्रयासबाट समेत व्यक्तिको नाममा दर्ता गर्न नसकेपछि शोभाकान्त ढकाल, रामकुमार सुवेदी लगायतको समूहले राजनीतिक पहुँच र प्रभावका आधारमा प्रधानमन्त्री निवास विस्तारको रणनीति बनायो । सोहीअनुसार विस्तारमा पर्ने जग्गामा मोही रहेको भनी तिनलाई सट्टाभर्ना दिने नाममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने खेल सुरु भएको हो । मिलेमतोका आधारमा तयार भएको मालपोतको त्यही पत्रका आधारमा डिभिजन कार्यालय भवन निर्माण तथा सम्भार विभाग हुँदै तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयले मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठायो । उक्त प्रस्तावमा सचिव दीप बस्न्यातको हस्ताक्षर छ भने तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारको स्वीकृति छ । उक्त प्रस्तावमा बालुवाटारको प्रधानमन्त्री निवास विस्तारका क्रममा लिन खोजिएको १२, ३८ र २१ कित्ता नम्बरको जग्गामा मोही छ र मोहीको नाम डाइवर भाइचा हो भन्ने खुल्छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०६४ जेठ २० गते ललिता निवासको जग्गा सरकारका नाममा दर्ता हुनुपर्ने निर्णय गर्‍यो । आफूलाई मोही दाबी गरी १० जनाले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाले । त्यही मुद्दाको जवाफ पठाउने क्रममा मालपोत कार्यालयले कित्ता नम्बर १२, ३८ र २१ मा पर्ती जग्गा रहेको जवाफ लेख्यो । त्यसको दुई वर्षभित्र त्यही कार्यालयले मन्त्रिपरिषदमा पठाएको जग्गाको विवरणमा भने मोही कायम गरेर पठाइदियो । ‘उक्त जग्गा कहिले गुठीका नाममा त कहिले व्यक्तिका नाममा दर्ता गर्न भूमाफियाले अनेक निवेदन दिनेदेखि चलखेल जारी राखेका थिए,’ भूमि व्यवस्था विभाग उच्च स्रोतले कान्तिपुरसँग भन्यो, ‘पछि त्यसै अनुकूल व्यवस्था गर्न मन्त्रिपरिषद्मै प्रस्ताव गएपछि उनीहरूलाई झनै सजिलो भयो ।’ विभागका अनुसार मोही नै नभएको जग्गामा ‘डाइवर भाइचा’ नामको मोही कायम गरेर मन्त्रिपरिषद् कार्यालयले निर्णय कार्यान्वयनका लागि भन्दै उनीहरूको जग्गा सट्टाभर्ना दिन भूमिसुधार कार्यालयलाई पत्र लेख्यो ।


‘डाइवर भाइचा’ का नाममा भएको जग्गामा पछि देवनारायण महर्जनलाई खडा गरेर मोहीको जग्गा दर्ता गराइएको छ । कान्तिपुरलाई प्राप्त कागजात हेर्दा ०५० साल जेठ ५ गते तत्कालीन काठमाडौं नगरपालिकाले आशाकाजी महर्जन र डाइवर भाइचा एउटै व्यक्ति हुन् भनी सिफारिस गरिदिएको छ । पछि निवेदनमा देवनारायण महर्जनले आफूलाई डाइवर भाइचाको नाति दाबी गरेर जग्गा हत्याएका छन् । यी सबै प्रस्ताव र नक्कली मोहीसहितको सूची मन्त्रिपरिषद्मा प्रस्तावको रूपमा गयो ।


सरकारले प्रस्ताव तयार गर्नुअघि नै शोभाकान्त ढकालले ‘बालुवाटारको प्रधानमन्त्री निवास विस्तारका क्रममा अधिग्रहण हुन लागेको भन्दै मोहीको नाममा आउनासाथ आफूले दिनुपर्ने जग्गा पास गरिदिने’ बताएका थिए । प्रस्ताव तयार हुनुअघि र
मन्त्रिपरिषद्बाट निर्णय भएपछि तयार भएका अधिकांश निवेदनमा अर्का योजनाकार रामकुमार सुवेदीको हस्ताक्षर छ । ‘उही व्यक्तिले निवेदन लेख्छ, वारेस बस्छ, सबैथोक गर्छ’, सीआईबी स्रोतले कान्तिपुरसँग भन्यो, ‘मोहीका नाममा जग्गा पास हुनसाथ आफ्नो नाममा दर्ता गरेको समेत देखिन्छ । हामीले के बुझ्ने ?’ मन्त्रिपरिषद्का नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नसक्ने भएकाले पनि विवादास्पद प्रकृतिका प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय गराउने चलन बढ्दो छ ।


०६६ साल चैत २९ गते मन्त्रिपरिषद् बैठकको प्रस्ताव नं. ३ मा प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापनको विषयलाई मुख्य रूपमा उठाएको थियो । उक्त प्रस्तावको पहिलो व्यहोरामा, सूचीमा उल्लेख भएका मोहीमध्ये विस्तारका क्रममा प्रधानमन्त्रीनिवासभित्र परेका मोहीलाई उनीहरूले पाउने आधा जग्गा बाहिरको जग्गाबाट दिने निर्णय भयो । निर्णयमै समरजंग कम्पनी, राजकुलो र बाटोको जग्गा दिने भनिएको थियो । सार्वजनिक जग्गा व्यक्तिका नाममा दिन मिल्दैन । अनि विस्तार क्षेत्रबाहिर परेको जग्गाको मोहीका हकमा पनि त्यही जग्गामध्ये आधा मोहीले रोजेको ठाउँमा दिने निर्णय गर्‍यो ।
सरकारले दुई ढंगले व्यक्तिको जग्गा प्राप्त गर्न सक्छ । जग्गा प्राप्ति ऐनअनुसार निश्चित कामका लागि जिल्ला प्रशासन कार्यालयले जग्गा अधिग्रहण गरेपछि कि मुआब्जा दिनुपर्छ, नभए सट्टाभर्नामा जग्गा दिनसमेत सक्छ । सट्टाभर्नामा दिइने त्यस्तो जग्गा सरकारी हुनुपर्छ भनी हालै चन्द्रबहादुर थापाविरुद्ध नेपाल सरकार रहेको मुद्दाको फैसलाक्रममा नजीर स्थापित भएको छ । सरकारले भने सार्वजनिक प्रकृतिको बाटो, राजकुलो र पर्ती जग्गा मोहीका नाममा दिने निर्णय गरेको हो ।


सरकारको निर्णयपछि खुसी भएका मोहीहरूले मोहियानी हकअनुसार जग्गा पाउन धमाधम भूमिसुधार कार्यालयमा निवेदन दिन थाले । भूमिसुधार कार्यालयले विवरण फरक परेकोलगायत कारण देखाइ प्रक्रियाविपरीत मोहीको हक कायम गर्न नसकिने निर्णय गर्‍यो । उक्त निर्णयपछि मोहीका नाममा जग्गाको स्वामित्व हस्तान्तरण हुन कठिन भयो । त्यसपछि भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अर्को प्रस्ताव पठायो । प्रस्तावअनुसार मोहीको हक कायम गर्ने निर्णय भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट खोसी मालपोत कार्यालयले गर्ने भनी सोझै मालपोतमै पत्र पठायो । बालुवाटारको जग्गा अनियमितताबारे छानबिन गर्न गठित समितिले ‘०६७ वैशाख ३१ गतेको निर्णयका कारण धेरै सार्वजनिक सरकारी र गुठीको जग्गा हिनामिना हुन पुगेको’ निष्कर्ष निकालेको छ ।


मन्त्रिपरिषद्को दोस्रो निर्णयपछि १२ जना मोही अनि उनीहरूले निवेदनमा उल्लेख गरेका व्यक्तिले धमाधम लालपुर्जा पाए । पर्तीजग्गामा मोही बनेका देवनारायणले दिएको निवेदनअनुसार उनले एक रोपनी १३ आना जग्गा पाएका छन् । उनले आफ्नो भागमा जग्गा पाइसकेपछि बाँकी जग्गा सरकारका नाममा हुनुपर्ने थियो तर मालपोत कार्यालयले तीर्थमाया महर्जन, माधवी सुवेदी, डीएफएल कम्पनी, रामकृष्ण महर्जन र कान्छा महर्जनका नाममा समेत जग्गा कायम गरिदिएको छ । माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्को निर्णयका कारण आफूलाई मोही भनी दाबी गरेका १२ जनाले बालुवाटारमा जग्गा पाएका छन् । त्यति मात्रै होइन, उनीहरूले निवेदनमा आफूले जग्गा पाएपछि बाँकी जग्गा अरू व्यक्ति किटेर ‘फलानालाई दिनु’ भनी लेखिएको विभिन्न कागजातबाट देखिन्छ । मालपोत कार्यालयले त्यही निवेदनका आधारमा धमाधम व्यक्तिको नाममा जग्गा दर्ता गरिदिएको थियो ।


व्यक्तिको नाममा दर्ता भएको विभिन्न जग्गामध्ये कतिपयमा फरक नाम छ भने केहीमा पर्ती जग्गा, राजकुलो र बाटो परेका छन् । नाम नमिलेका अनि निवेदनै नदिएका मोहीका नाममा समेत जग्गा हस्तान्तरण भएको छ । मोही नै नभएको गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीको जग्गामा समेत मोहीलाई जग्गा बाँडिएको छ । मन्त्रिपरिषद्बाट निर्णय नै नभएको बालुवाटारभित्रको मोही दाबी गर्ने एक जनालाई पनि जग्गा दिइएको छ । त्रिताल प्रतिवेदनले भूमि जग्गा नापजाँच अनि मालपोतसम्बन्धी कानुनी व्यवस्था उल्लेख नगरी मनोगत रूपमा प्रस्ताव पठाएको ठहर्‍याएको छ । उक्त प्रस्ताव लेख्ने अधिकारीले सुरुमै आफ्नो प्रस्तावमा अन्त्यमा थपघट गरेको उल्लेख छ । अर्कोतर्फ जग्गा सट्टापट्टा, दर्ता, दाखिला खारेज गर्दा अपनाउनुपर्ने कार्यविधि मिलेको भन्दै समितिले सोझै मालपोत कार्यालयमा निर्णय कार्यान्वयन गर्न पठाइएकाले तहगत रूपमा कुनै त्रुटि भए सच्याउने अवसरलाई वञ्चित गरिएको निष्कर्ष निकालेको छ ।


को–को थिए ?
मन्त्रिपरिषद्को उक्त निर्णयका कारण चार व्यक्तिहरू प्रत्यक्ष विवादमा तानिएका छन् । प्रस्ताव तयार पार्न भौतिक सचिव दीप बस्न्यात थिए भने त्यसलाई उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले स्वीकृत गरेका थिए । दोस्रो प्रस्तावमा भूमिसुधार सचिव छविराज पन्तले प्रस्ताव तयार गरेका थिए भने मन्त्री डम्बर श्रेष्ठले सदर गरेका थिए । पछिल्लो पटकको प्रस्ताव पारित हुँदा माधवकुमार नेपाल प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरिरहेका थिए भने विजयकुमार गच्छदार भौतिक योजना तथा निर्माणमन्त्री थिए । प्रस्तावसँग जोडिएका अर्का मन्त्री डम्बर श्रेष्ठ हुन् । त्यतिबेला माधव घिमिरे मुख्यसचिव थिए । यो प्रकरणमा जोडिएका राजनीतिक नेतृत्वले हालसम्म विषयवस्तुमा आधारित भएर कुनै प्रतिक्रिया जनाएका छैनन् । सचिवद्वय बस्न्यात र पन्तले भने आफूहरूको बदनियत नरहेको भन्दै मन्त्रिपरिषद्को निर्णयमा आफूहरूलाई मात्रै दोषी करार गर्न नहुने प्रतिक्रिया दिएका छन् ।
निर्णयमाथि नैतिकताको प्रश्न उठाउने हो भने उक्त मन्त्रिमण्डलमा गच्छदारका साथ सुजाता कोइराला उपप्रधानमन्त्री थिइन् । हालकी राष्ट्रपति विद्यादेवी भण्डारी रक्षामन्त्री थिइन् । अन्य मन्त्रीमा शरदसिंह भण्डारी, भीम रावल, राजेन्द्र महतो, सुरेन्द्र पाण्डे, प्रेमबहादुर सिंह, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, शंकर पोखरेल, डा.मीनेन्द्र रिजाल, रकम चेम्जोङ, पूर्णकुमारी शेर्मा, उमाकान्त चौधरी, मोहम्मद आफताव आलम, रवीन्द्र श्रेष्ठ, दीपक बोहरा, महेन्द्रप्रसाद यादव, मृगेन्द्रकुमार सिंह यादव, गणेश तिवारी नेपाली, ठाकुर शर्मा,
लक्ष्मणलाल कर्ण र सर्वदेव ओझासमेत गरी २७ जना थिए । उक्त मन्त्रिमण्डलमा १४ जना राज्य र २ जना सहायक मन्त्री थिए ।
१२ जना ॅशंकास्पद’ मोही
श्रीकृष्ण महर्जन, द्वारिका महर्जन, ग्वाराभाइ महर्जन, मचानानी महर्जन, बाबुराजा महर्जन, कर्णबहादुर गुरुङ, तीर्थमाया महर्जन (पहिलो), तीर्थमाया महर्जन (दोस्रो), देवनारायण महर्जन (पहिलो), देवनारायण महर्जन (दोस्रो), कान्छा महर्जन, हर्कनारायण डंगोल ।

समाचार

सापकोटाविरुद्धका उजुरीको प्रतिलिपि ल्याउन आदेश

द्वन्द्वकालको मुद्दा संवैधानिक इजलासमा
- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालको व्यक्ति हत्याको मुद्दामा पूर्वमन्त्री तथा तत्कालीन माओवादीका नेता अग्निप्रसाद सापकोटा लगायतविरुद्ध सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन
आदेश गरेको छ ।


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले बुधबार सापकोटा लगायतविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामा हत्याको घटनामा आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश दिएको हो । ‘आयोगमा उजुरी दिइएको छ कि छैन ? उजुरी दिएको भन्ने प्रमाणित भएमा त्यसको प्रतिलिपि र उजुरी नपरेको भए सो पनि अदालतलाई जानकारी दिनू’ आदेशमा भनिएको छ । सर्वोच्चले आयोगलाई उक्त मुद्दाको उजुरीका बारेमा आफूलाई जानकारी गराउनसमेत आदेश दिएको छ ।


विसं २०६२ वैशाख १६ मा तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो । लामाकी पत्नी पूर्णिमाया लामाले हत्यामा नेता सापकोटालगायत संलग्न रहेको दाबी गर्दै २०६९ मंसिर ७ मा जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दाको पुनरावेदन सर्वोच्चमा भएको हो । २०७२ चैत १२ मा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले उक्त मुद्दा संवैधानिक इजलासबाट हेर्ने आदेश दिएको थियो । त्यही आदेशका आधारमा सापकोटाको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

समाचार

‘संवैधानिक अंगको काममा अवरोध नगरौं’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरूको काममा अवरोध नगर्न सरकार र संघीय संसद्लाई आग्रह गरेका छन् । तिनिधिसभाको राज्य व्यवस्था समितिको निर्देशनले स्थानीय तहका लागि गरिएको विज्ञापनमा केही समय अन्योल पारेको प्रति संकेत गर्दै उनले त्यस्तो आग्रह गरेका हुन् ।


मैनालीले संविधानअनुसार चल्ने लोकसेवालगायतका संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिए मात्रै संसद् र सरकार दुवैको कामलाई सघाउ पुग्ने बताए । मधेसी आयोगद्वारा बुधबार राजधानीमा आयोजित अन्तर्क्रियामा बोल्दै उनले संवैधानिक निकायको काम सरकार र संसद्लाई सहयोग पुर्‍याउनु रहेकाले उनीहरूको काममाथि अवरोध गर्न नहुने बताए ।


मैनालीले संघीय निजामती सेवा ऐन छलफलका क्रममा रहेकाले त्यसमा सबै समुदायको आरक्षणको स्पष्ट व्यवस्था गर्न संसद्को ध्यानाकर्षण गराए । उनले ऐनमा आरक्षणसम्बन्धी कतिपय विषय स्पष्ट नभएकाले समावेशी कोटा निर्धारणमा आयोगलाई समेत समस्या पर्ने गरेको बताए । उनले आरक्षणको उचित व्यवस्थाका लागि संघीय निजामती सेवा ऐनमा आवश्यक सुझाव दिन मधेसीलगायतका समावेशी आयोगहरूलाई आग्रह गरे । उनले नेपालको संविधान समावेशिताका दृष्टिले उत्कृष्ट रहेको जनाउँदै यसको कार्यान्वयनमा सबै पक्षको ध्यान जानुपर्ने धारणा व्यक्त गरे ।

समाचार

अवरोधकै बीच चल्यो संसद्

बजेट पारित गर्ने प्रक्रिया टुंग्याइयो
- दिनेश रेग्मी
प्रतिनिधिसभाको बुधबारको बैठक अवरोध गर्दै प्रतिपक्षी सांसद । तस्बिर ः अंगद ढकाल/कान्तिपुर

(काठमाडौं) - विपक्षीको अवरोधकै बीच संसद्मा आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित गर्ने औपचारिक प्रक्रिया टुंग्याइएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय सभाबाट बजेटसम्बन्धी ४ विधेयक पारित भएको सन्देश सुनाइयो । पारित बजेट राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनको बाटो खुल्नेछ ।


प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय जनता पार्टीले सर्लाहीमा भएका मृत्युका दुई घटनाको संसदीय छानबिन माग्दै मंगलबारबाटै अवरोध गरिरहेका थिए । बुधबार पनि बैठक सुरु हुनेबित्तिकै उनीहरूले रोस्ट्रमअगाडि नाराबाजी गरे । त्यही समयमा सभामुख कृष्णबहादुर महराले राष्ट्रिय सभाबाट पारित सन्देशको जानकारी गराउन प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई समय दिए । योगीले विनियोजन विधेयक–०७६, आर्थिक विधेयक–०७६, राष्ट्र ऋण उठाउने विधेयक–०७६ र ऋण तथा जमानत (२३ औं संशोधन) विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाएका थिए । त्यसपछि सभामुखले ३० गतेसम्मका लागि बैठक स्थगित गरे ।


त्यसअघि बसेको कार्यव्यवस्था समिति बैठकमा सहमति जुटाउने प्रयासमा दिउँसो १ बजे सुरु हुने भनिएको बैठक करिब डेढ घण्टा धकेलिएको थियो । सभामुख महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ कांग्रेस र राजपाका सांसदहरू कुर्सीबाट उठेका थिए । पटकपटक बस्न आग्रह गर्दा पनि नमानेपछि महराले बैठक अघि बढाएका थिए । त्यसपछि सांसदहरू नाराबाजी गर्दै बेल घेर्न पुगे । नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेल र सर्लाहीको सडक प्रदर्शनमा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिन गर्न कांग्रेस र राजपाले माग गरेका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता गगन थापाले संसदीय छानबिन समिति गठन नभएसम्म बैठक अघि बढ्न नदिने बताए । ‘हिजो यही संसद्मा सभामुखले तपाईंहरू मलाई विश्वास गर्नुस्, म समिति बनाउँछु भन्नुभयो तर आज गर्छु भनेको पनि गर्नुभएन,’ उनले भने, ‘सभामुखले स्वतन्त्र ढंगले भूमिका निर्वाह गर्न सक्नुभएको छैन ।’


नेकपा वरिष्ठ नेता झलनाथ खनालले हरेक विषयमा संसदीय समिति बनाउन निश्चित आधार हुनुपर्ने बताए । ‘सर्लाही घटनामा गृहमन्त्रीले भनिसक्नुभो, अब पटकपटक भन्न जरुरी छैन,’ उनले भने, ‘हरेक घटनामा संसदीय समिति बनाएर के गर्ने ? संसद्मा थुप्रो समिति छन् त, तिनै समितिले काम गरे हुँदैन ?’ खनालले भोजपुरमा बुधबार चन्द समूह र प्रहरीबीच गोली हानाहानमा दुई जना मारिएको घटनाबारे संविधानबाट बाहिर गएका शक्तिलाई पनि बाटोमा ल्याउनुपर्नेमा जोड दिए । ‘हामी संवैधानिक स्थिरताको युगमा प्रवेश गरिसकेका छौं, संविधानविरुद्ध र हिंसाको बाटोमा कोही जानु हुँदैन,’ उनले भने, ‘जाने खोज्नेलाई संवैधानिक बाटोमा ल्याउन सरकारले कोसिस गर्नुपर्छ ।’


उपसमिति गठनमा असहमति
कांग्रेसले पौडेल र सिंह मारिएको घटनाको छानबिन गर्न संसदीय समितिअन्तर्गत उपसमिति गठन गर्ने प्रस्ताव अस्वीकार गरेको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बुधबारको बैठकपछि सभापति कृष्णभक्त पोखरेलले सदस्य रहेका कांग्रेसका अतहर कमाल मुसलमानसँग उपसमिति गठनबारे छलफल गरेका थिए । ‘उहाँ (पोखरेल) ले अनौपचारिक कुराकानीका क्रममा सर्लाही घटनाको छानबिन गर्न उपसमिति गठन गरेर जान सकिन्छ कि भनेर कुरा गर्नुभएको थियो,’ मुसलमानले कान्तिपुरसँग भने, ‘यो विषय संसद्मा गइसकेकाले अब उपसमिति गठन गर्ने कुरा ढिला भइसकेको बताएँ ।’
त्यस्तै समिति बैठकले प्रशासकीय अदालत यथावत् राख्ने निर्णय गरेको छ ।

समाचार

प्रदेश प्रहरी प्रमुखमा डीआईजी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रदेशको प्रहरी प्रमुख बनाउने विषयमा सहमति जुटेको छ । केन्द्रबाट समायोजन भएर जाँदा प्रदेश प्रहरी प्रमुखमा डीआईजी राख्ने कि एआईजी भन्नेमा विवाद थियो । पूर्वगृहमन्त्री एवं नेकपा सांसद जनार्दन शर्माले एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउनुपर्ने प्रस्ताव गरेका थिए । बहुमत सदस्य भने डीआईजी राख्नुपर्ने पक्षमा थिए । समितिको बुधबारको बैठकमा शर्माले अन्य सदस्यको धारणामा सहमति जनाएपछि समिति निष्कर्षमा पुगेको हो । प्रदेश प्रमुखको पदको नाम के राख्ने भन्नेमा भने सहमति भएको छैन ।


‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिमा दफावार छलफल जारी छ । सरकारले विधेयकमा प्रदेश प्रमुखको पदमा कुन तहको अधिकृत रहने भन्ने किटान गरेको थिएन । प्रमुख भएर जाने डीआईजीले प्रदेश प्रहरीकै पोसाक र दर्ज्यानी चिह्न लगाउने विषयमा समेत सहमति जुटेको छ । सात प्रदेशमा डीआईजीसहित ५५ हजार प्रहरी समायोजन हुनेछन् भने २० हजार प्रहरी केन्द्रमा रहनेछन् ।


हरेक प्रदेशमा डीआईजीको नेतृत्वमा सरदर ११ हजारका दरले प्रहरी रहनेछन् । प्रदेश प्रहरी प्रमुखहरू प्रहरी महानिरीक्षक बन्ने बाटोसमेत खुला राखिएको छ । केन्द्र सरकारले प्रदेश प्रहरी प्रमुखलाई सरुवा गर्न सक्ने व्यवस्था विधेयकमा छ । प्रदेश प्रहरीको सेवासुविधा केन्द्रका प्रहरीको भन्दा कम नहुने व्यवस्था गरिएको छ । प्रदेश प्रहरीको सेवा, सुविधा, पोसाक, दर्ज्यानी चिह्न प्रदेश सरकारले बनाउने कानुनअनुसार हुनेछ । प्रदेशमा जाने प्रहरीलाई बढुवा गर्ने या ग्रेड थपेर पठाउने भन्नेमा सहमति जुटन बाँकी समिति सभापति शशि श्रेष्ठले जानकारी दिइन् ।

Page 29
लुम्बिनी प्रदेश

नसुन्ने विद्यार्थी मर्कामा

‘धेरै बस हुइँकिन्छन् । रोक्दैनन्, चढाइहाले दुर्व्यवहार गर्छन् ।’
- अमृता अनमोल

भैरहवास्थित बहिरा बाल माध्यमिक विद्यालयका विद्यार्थी नयाँ बस पाएपछि खुसी हुँदै । तस्बिर : अमृता/कान्तिपुर 

(बुटवल) : कक्षा ८ मा अध्ययनरत यहाँकी एलिना खातुन बोल्न र सुन्न सक्दिनन् । सांकेतिक भाषामा पढ्न नजिकमा विद्यालय छैन । भैरहवास्थित बहिरा बाल माविमा जानुपर्छ । २५ किलोमिटर टाढा आउजाउ गर्न कठिन छ । सरकारले यस्ता विद्यार्थीलाई निःशुल्क यातायात सेवा दिनुपर्ने नियम बनाएको छ । यस्तो नियमका कारण सार्वजनिक बसमा उनीहरूलाई चढाउन मान्दैनन् । ‘धेरै बस हुइँकिन्छन् । रोक्दैनन्,’ उनले भनिन्, ‘चढाइहाले दुर्व्यवहार गर्छन् ।’
शंकरनगरकी मीना शर्मा कक्षा ९ की विद्यार्थी हुन् । दैनिक विद्यालय आउजाउ गर्छिन् । ‘भरसक बस रोक्दैनन् । सिटमा बस्न त कहिल्यै पाउँदैनौं,’ उनले भनिन्, ‘उभिन सबैभन्दा कुनोमा जानुपर्छ । त्यसो गर्दा सहचालक रिसाउँछन् ।’ सुस्त श्रवणशक्तिकालाई सार्वजनिक यातायातका साधन प्रयोगमा पूर्ण छुट छ । अनुगमन नगर्दा त्यो पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । यसको मारमा श्रवण शक्ति कमजोर रहेका विद्यार्थी परेका छन् । मीना र खातुनजस्ता ८४ जना यस्ता विद्यार्थी पढ्नैका लागि दैनिक बुटवल–भैरहवा आउजाउ गर्छन् । उनीहरू सबैलाई सधैं सवारी साधनको समस्या पर्छ । तर्क गर्न सक्ने विद्यार्थीले सांकेतिक रूपमा तर्क गर्छन् । नसक्ने भाडा दिएरै आउजाउ गरेका हुन्छन् ।
बुटवलबाहिरका रुटमा भाडा समस्या अझ धेरै छ । भाडा छुट मागे सहचालकहरूले बीच बाटोमै झारी दिन्छन् । विपन्न परिवारका बालबालिकालाई दैनिक भाडा तिरेर आउजाउ गर्न पनि समस्या छ । यही समस्याका कारण घरबाट आउजाउ गर्न सक्ने धेरै श्रवण शक्ति कमजोर विद्यार्थी विद्यालयकै आवास गृहमा बस्न बाध्य छन् ।
भैरहवास्थित बहिरा बाल माविमा २६ जिल्लाका १ सय ८९ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयकी प्रधानाध्यापक दिलमाया थापाले समस्या नै भए पनि सबै विद्यार्थीलाई आवास सुविधा दिन नसकिने बताउँछिन् । पश्चिम नेपाल बस व्यवसायी संघ (प्रालि) का उपाध्यक्ष जीवनकुमार बन्जाडे आफू मातहतका बसमा छुट दिन आग्रह गरेको बताए । तर, एकैपटक धेरै त्यस्ता विद्यार्थी चढ्दा समस्या हुने भएकाले बाँडिएर बस्न उनले आग्रह गरे ।
पछिल्लो पटक कम्पनीमार्फत धेरै बस सञ्चालन भएका छन् । उनीहरूले भने छुट नै दिँदैनन् । श्रवण शक्ति कमजोर विद्यार्थी कल्पना ढकालले छुट माग्दा सरकारसित माग भनेर हप्काउने गरेको बताइन् ।

प्रदेशले दियो स्कुल बस
श्रवण शक्ति कमजोर विद्यार्थीलाई विद्यालय आउजाउमै समस्या परेपछि विद्यालयले १० वर्ष अघिदेखि विभिन्न सरकारी र गैरसरकारी निकायसँग सवारी साधन माग गरेको थियो । विद्यालयको मागअनुसार अहिले प्रदेशको सामाजिक विकास मन्त्रालयले बस उपलब्ध गराएको छ । मंगलबार प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले विद्यालय व्यवस्थापन समितिलाई स्कुल बस हस्तान्तरण गरे । अब बुटवल रुटका विद्यार्थी विद्यालयकै बसमा आउजाउ गर्ने छन् । अन्य क्षेत्रबाट आउनेका विद्यार्थीका लागि भने समस्या उस्तै हुनेछ । त्यसमा के गर्ने ? सामाजिक विकास मन्त्री बरालले बस व्यवसायीहरूसँग छुटको प्रावधानलाई लागू गर्न निर्देशन दिने बताए ।
प्रदेश ५ मा सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरू पढ्ने ५१ वटा विद्यालय छन् । अन्य विद्यालयमा पनि त्यस्ता विद्यार्थी आउजाउमा यातायातको समस्या छ । आगामी वर्ष माग र आवश्यकताका आधारमा ती विद्यालयमा पनि सहयोग गर्ने मन्त्री बरालले बताए । ‘६/७ जना विद्यार्थी राखेर पनि सुस्त श्रवणका विद्यालय सञ्चालन भएका छन्,’ उनले भने, ‘त्यस्ता विद्यालयलाई भने गाभेर नयाँ उत्कृष्ट विद्यालय निर्माण गर्ने योजना बनाएका छौं ।’

लुम्बिनी प्रदेश

पूर्ण सरसफाइ उन्मुख गाउँ घोषणा

- कान्तिपुर संवाददाता

रुकुम पूर्व (कास)– भूमे गाउँपालिका–३ का सीमा र मोराबाङलाई जिल्लामै पहिलो पूर्ण सरसफाइ उन्मुख गाउँ घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बुधबार सांकेतिक रूपमा साबुनपानीले हात धोएर सीमा र मोराबाङलाई पूर्ण सरसफाइ उन्मुख गाउँ घोषणा गरे । वडा ३ मा संचालित खानेपानी, सरसफाइ तथा स्वच्छता रणनीतिक कार्ययोजनाअन्तर्गत दुई गाउँलाई पूर्ण सरसफाइ उन्मुख गाउँ घोषणा गरिएको हो ।
भूमेका ९ वटै वडामा गाउँपालिकाको आर्थिक सहयोग तथा रुकुमेली समाज विकास केन्द्रको सहजीकरणमा खानेपानी, सरसफाइ तथा रणनीतिक कार्ययोजना कार्यान्वन भइरहेको छ । पूर्ण सरसफाइका ७ वटा सूचक पूरा भएपछि यी दुई गाउँलाई पूर्ण सरसफाइ उन्मुख गाउँ घोषणा गरिएको हो । ९० प्रतिशत सूचक पूरा भएपछि पूर्ण सरसफाइ उन्मुख घोषणा गर्नुपर्ने कार्यविधि भए पनि सीमा र मोराबाङ गाउँमा भने ९३ प्रतिशत पूर्ण सरसफाइका सूचक पूरा भएको सरसफाइ अधिकृत संगम देवकोटाले बताए ।
पूर्ण सरसफाइ उन्मुख गाउँ घोषणाका लागि योजना तथा व्यवस्थापन, चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ पूरा भएको हुनुपर्छ । यसैगरी, सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी एवं संस्थागत सरसफाइ र वातावरणीय सरसफाइ पूर्ण भएको हुनुपर्छ । सीमामा १ सय ४० घरधुरी छन् भने मोराबाङमा ८६ घरधुरी छन् । पूर्ण सरसफाइ उन्मुख घोषणापछि वडा ३ का वडाध्यक्ष दिलमान रोकाले स्थानीयवासीका तर्फबाट यसको कार्यान्वयन र निरन्तरताका लागि ७ बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिंगो भूमे गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउन रणनीतिक योजना बनाएर लागिपरेको गाउँपालिका अध्यक्ष बुढाले बताए । ‘रणनीति तथा कार्यक्रम बनाएर नै हामी लागिपरेका छौं,’ उनले भने, ‘मानव स्वास्थ्य र सभ्यताका लागि पनि पूर्ण सरसफाइमा जोड दिएका हौं ।’

 

लुम्बिनी प्रदेश

हस्ताक्षर अभियान

- कान्तिपुर संवाददाता

पाल्पा (कास)– राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको छ । अभियानको जिल्ला समापन कार्यक्रममा मंगलबार पार्टीका उपमहासचिव टोप अस्लामीले भ्रष्टाचार छानबिनका लागि नागरिक आयोग गठन हुनुपर्ने बताए । उनले विगतदेखिकै भ्रष्टाचारीहरूको सम्पत्ति छानबिनका लागि नागरिक आयोग गठन गर्न दबाब दिनका लागि हस्ताक्षर अभियान चलाएको बताए ।
‘पार्टीले अगाडि सारेको भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानलाई नागरिक समाज, अन्य राजनीतिक दलले पनि साथ दिनुपर्छ,’ उनले भने । पञ्चायतदेखि अहिलेसम्मको उच्चपदस्थहरूको सम्पत्ति छानबिन हुनुपर्नेमा उनले जोड दिए । हस्ताक्षर अभियानका प्रदेश ५ संयोजक होमाया गुरुङले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रीयकरण गर्न संवैधानिक व्यवस्था हुनुपर्ने र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्नुपर्ने बताइन् । प्रदेश ५ का अध्यक्ष झमबहादुर गुरुङले भ्रष्टाचार र भ्रष्टाचारीको छानबिनका लागि स्वायत्त नागरिक छानबिन आयोग हुनुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश

उपभोक्ता सचेत नहुँदा ठगिँदै

- कान्तिपुर संवाददाता

पाल्पा (कास)– बजारमा वस्तु तथा सेवा उपभोग गर्दा उपभोक्ता सचेत नभएकाले ठगिएका छन् । तानसेन नगरपालिकाले मंगलबार राखेको उपभोक्ता अधिकार र ऊद्योगी तथा व्यवसायीको दायित्व विषय अन्तर्त्रियामा सहभागीले यस्तो बताएका हुन् ।
उनीहरूले उपभोक्ताले नै वस्तु तथा सेवाका विषयमा जानकारी नलिएकाले ठगिनुपरेको बताए । बजारमा सामान खरिद गर्दा मूल्य सूची नहुनु, पसलैपिच्छे फरक मूल्य हुनु, फेन्सी पसलको मनोमानी मूल्य, विद्युतीयलगायत अन्य सामग्रीमा मूल्य नराखिनुमा उपभोक्ता बढी ठगिने गरेका हुन् । अधिवक्ता शृङऋषि काफ्लेले उपभोक्ता आफैं पनि सचेत हुन नसक्दा बजारमा मनोमानी बढेको बताए । ‘पसलमा सामान किन्न जाँदा पसलैपिच्छे फरक मूल्य पाइन्छ,’ उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिवसमेत रहेका उनले भने, ‘यस विषयमा उपभोक्ताबाट आवाज उठाउनुपर्छ ।’
पाएको कानुनी अधिकार प्रयोग गरेर भए पनि यस्ता विषयमा बोल्न सक्यो भने मूल्य सूची पनि सही तवरबाट राख्न व्यापारी बाध्य हुने उनले बताए । तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले बजारको मूल्यलगायत वस्तु तथा सेवाका विषयमा उपभोक्ता आफैं सचेत हुन सक्नुपर्ने बताए । उपभोक्ता अधिकार र उद्योगी तथा व्यवसायीहरूको दायित्व विषयक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले गुणस्तरहीन सामग्री उपयोगले मानव स्वास्थ्य र मानव जीवनलाई समेत असर गर्ने बताए । वस्तु तथा सेवा गुणस्तरको हो कि होइन बुझ्ने, बिल माग्ने, उपभोग्य मिति हेर्ने, अधिकतम खुद्रा मूल्यभन्दा बढी लिएको छ कि हेर्ने गर्नुपर्नेमा उनले जोड दिए ।
उपभोक्ताहरूले अधिकार उपयोग गर्दै कर्तव्य पालना गर्नुपर्ने उपप्रमुख लक्ष्मीदेवी पाठकले बताइन् । व्यवसायी उपभोक्ता कम र व्यवसायी बढी भएर प्रस्तुत हुँदा समस्या आएको उनले बताइन् । जिल्लामा अनुगमन गर्ने निकाय र उपभोक्ता हितका सवालमा काम गर्नेहरूका बीचमा समन्वय, सहकार्य हुनुपर्ने उनले सुनाइन् । उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले नगरपालिकाले पाएको अधिकार प्रयोग गर्दै अनुगमन गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश

पुल जोखिममा

- कान्तिपुर संवाददाता

बर्दिया (कास)– कर्णाली नदीले धार परिवर्तन गरेपछि राजापुरलाई कैलालीसित जोड्ने पुल जोखिममा परेको छ । पुल बचाउन गरिएको तटबन्ध भासिन थालेको छ । बाढी आउनासाथ तटबन्ध बगाउने खतरा छ । नदीले कटान गरेपछि सडकसमेत बगाउने राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले बताए ।
पुलको लम्बाइ कम भएकाले पूर्वतर्फ कटान भइरहेको छ । पुल जोगाउन प्राविधिक टोलीले एक वर्षअघि थप एक पिलर (स्पान) निर्माण गर्नुपर्ने उल्लेख गरेर केन्द्रमा प्रतिवेदन पेस गरेको थियो । हुलाकी सडक आयोजनाले पुल निर्माण थालेको हो । यसलाई जोगाउन थप पिलर निर्माणका लागि २ करोड रुपैयाँ केन्द्रसँग माग गरेको थियो । एक वर्ष बितिसक्दा पनि बजेट निकासा भएको छैन । अतिरिक्त पिलर निर्माण नगरे पुल बग्ने चेतावनी आयोजनाले दिएको छ ।
आयोजना प्रमुख युवराज पोखरेलले थप एक पिलर निर्माणका लागि बजेट निकासा नभएको बताए । ‘हुलाकी आयोजना निर्देशनालयबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन,’ उनले भने, ‘पुल जोगाउन निर्माण गरिएको ग्याभिन भासिंदै गएको छ ।’ कालिका–शर्मा–रसुवा जेभी निर्माण कम्पनीले करिब ४६ करोड रुपैयाँ लगानीमा ५ सय ३१ मिटर लामो उक्त पुल निर्माण गरेको थियो । २ वर्षअघि निर्माण भए पनि हस्तान्तरण भएको छैन ।

लुम्बिनी प्रदेश

उपमहानगरद्वारा करको दायरा वृद्धि

- कान्तिपुर संवाददाता

नेपालगन्ज (कास)– नेपालगन्ज उपमहानगरले आर्थिक वर्ष ०७६/७७ का लागि करको दरमा परिमार्जन गरेको छ । नगरसभाले आर्थिक विधेयकलगायत अन्य विधेयक पारित गरेको छ । उपप्रमुख उमा थापामगरले हरेक वर्ष करको दायरा बढाउँदा असन्तुष्टि बढ्ने भएकाले सामान्य हेरफेर गरिएको बताइन् । यसपटक
कर वृद्धि नगरी दायरा फराकिलो पारिएको र वैज्ञानिक तरिकाले निर्धारण गर्ने प्रयास गरिएको उनले बताइन् ।
वातावरणमैत्री, महिलाले र साना उद्यमीले सञ्चालन गर्ने उद्योगका लागि कर घटाइएको छ । नगरभित्रका सुर्ति उद्योगका लागि ४ सय प्रतिशतले कर वृद्धि गरिएको हो । चालु वर्ष ०७५/७६ मा त्यस्ता उद्योगमा वार्षिक कर ७ हजार ५ सय रुपैयाँ लगाउँदै आएकामा आगामी वर्ष ४ सय प्रतिशत वृद्धि गरेर ३० हजार रुपैयाँ पुर्‍याइएको छ । तम्बाखुजस्ता स्वास्थ्यका लागि हानिकारक मानिने वस्तुको उत्पादनलाई निरुत्साहित गर्ने नीतिसहित कर वृद्धि गरिएको उपमहानगरले जनाएको छ ।
खुद्रा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्ने र पान पसलको हकमा भने कर यथावत् छ । खुद्रा पसलले वार्षिक २ हजार ५ सय रुपैयाँ कर बुझाउँदै आएका छन् । सम्पत्ति कर र शिक्षा क्षेत्रमा लाग्ने करमा हेरफेर गरिएको छ । प्राविधिक शिक्षालयमा १५ हजार रुपैयाँ वार्षिक कर लाग्दै आएकामा त्यसलाई वृद्धि गरेर २५ हजार रुपैयाँ पुर्‍याइएको छ । काठ मिलमा लाग्ने कर दोब्बर गरिएको छ । त्यस्ता मिललाई ७ हजार ५ सयबाट वृद्धि गरेर १५ हजार रुपैयाँ लगाउने निर्णय गरिएको छ ।
कंक्रिट, हलोब्लकजस्ता उद्योगका लागि १५ हजार रुपैयाँ पुर्‍याइएको छ । तम्बाखुलगायतका उद्योगलाई निरुत्साहित गरेको उपमहानगरपालिकाले सिलाइ मेसिन भएकालाई निश्चित संख्याका आधारमा कर छुट र अन्य उद्योग सिफारिस गर्दाको हकमा करको दायरा घटाएको छ । ‘थोरै कुरामा वृद्धि भएको छ तर त्यसबाहेक अन्य कुरामा जनतालाई मर्का नपर्ने गरी वैज्ञानिक तरिकाले कर परिमार्जन गरिएको छ,’ उपप्रमुख थापामगरले भनिन्, ‘जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले तम्बाखुजस्ता उद्योगमा कर वृद्धि गर्ने निर्णय भएको छ ।’

 

लुम्बिनी प्रदेश

आपतकालीन केन्द्र स्थापना

- कान्तिपुर संवाददाता

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा रहेको उद्धार सामग्री देखाउँदै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे । तस्बिर : गिरुप्रसाद भण्डारी/कान्तिपुर 

प्यूठान (कास)– विपद् व्यवस्थापनका लागि आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । प्राकृतिक प्रकोप र अन्य विपत्तिका बेला तत्काल उद्धार, राहतलगायतका काम गर्न जिल्ला प्रशासन कार्यालय प्यूठानमा केन्द्र स्थापना गरिएको हो । केन्द्रले मंगलबारबाट कामको शुभारम्भ गरेको छ । केन्द्र स्थापनाले जिल्लामा आइपर्ने प्रकोप व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चौबीसै घण्टा सेवा संचालनका लागि प्रदेश सरकारद्वारा उपलब्ध कर्मचारी र नेपाल प्रहरी, सशस्त्र प्रहरीका जवान खटिएका छन् । प्राकृतिक प्रकोप र महामारीका घटनापछि रोकथाम, क्षति न्यूनीकरण, पुनःस्थापना, स्थानान्तरणलगायत कार्यलाई प्रभावकारी बनाउन केन्द्रले सहयोग पुर्‍याउने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । प्रदेश सरकारबाट प्रशासनलाई उद्धार सामग्री खरिद गर्न उपलब्ध गराएको ५ लाख रुपैयाँले उद्धारका सामान किनेर तयारी अवस्थामा राखिएको छ । केन्द्रमा पूर्वसूचना दिने संयन्त्रसमेत सञ्चालनमा ल्याइएको छ ।
केन्द्र स्थापनाले जिल्लामा आइपर्ने प्रकोप व्यवस्थापन, जनधनको क्षति न्यूनीकरण र मानवीय सहायता उपलब्ध गर्न योगदान मिल्ने अपेक्षा गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले बताए । केन्द्रले जिल्लाभरबाट एकीकृत रूपमा सूचना संकलन गरी जिल्लामा आपतकालीन अवस्थामा निर्वाह गर्नुपर्ने खोज, उद्धार, राहतसहितको कार्ययोजना निर्माणलगायत त्यससम्बन्धी आवश्यक कार्य गर्न सहयोग पुग्नेछ ।
केन्द्रमा ३० प्रकारका विभिन्न उद्धार सामग्री राखिएका छन् । पूर्वसूचना उपलब्ध गराउने, तत्काल उद्धारका लागि टोली परिचालनमा समन्वय गर्ने, रिपोर्टिङ गर्ने, रेकर्ड राख्नेलगायत कार्य सञ्चालन हुने प्रजिअ गैह्रेले बताए । प्रशासनकै अगुवाइमा जिल्लामा विपद् पूर्वतयारी प्रतिकार योजनासमेत बनाइएको छ । योजनाअनुसार जिल्लामा रहेका १२ प्रहरी चौकीबाट ५/५ जना, ६ वटा इलाका प्रहरी कार्यालयबाट ७/७ जना, जिल्ला प्रहरी कार्यालयबाट २५ जना विपद्मा खटिनेछन् ।

Page 30
प्रदेश समाचार

दन्तकाली मन्दिरमा पित्तलको छानो

- कान्तिपुर संवाददाता

सुनसरी (कास)– विजयपुर–१४ स्थित शक्तिपीठ मानिएको दन्तकाली मन्दिरमा पित्तलको छानो लगाउने काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको ३० लाख रुपैयाँ र स्थानीयबाट ३ लाख ७६ हजार रुपैयाँ गरी ३३ लाख ७६ हजारमा छानो लगाइएको दन्तकाली मन्दिर व्यवस्थापन समितिका सचिव पुजारी विश्वराज खनालले बताए ।


यो मन्दिर कसले निर्माण गरेको हो कतै उल्लेख नभए पनि ५ सय वर्षअघि बंगालका शासकले जीर्णोद्धार गरेको इतिहास छ । यसअघि मन्दिरमा राजस्थानबाट मगाइएको ग्रेनाइटको छानो आधा लगाइएको थियो तर पुरातत्त्व विभागले मन्दिरले थाम्न नसक्ने जनाएपछि पित्तलको छानो लगाइएको छ । खनालका अनुसार पहिले मन्दिरको छानो झिँगटीको प्यागोडा शैलीको थियो । विसं १९९० को महाभूकम्पले क्षतिग्रस्त बनाएपछि गुम्बज शैलीमा निर्माण गरिएको थियो । त्यो छानो पनि ०४५ सालको भूकम्पले भत्काएपछि फेरि प्यागोडा शैलीको छानो लगाइएको थियो ।


पौराणिक कालमा सतीदेवीले शिवजीलाई मन पराए पनि दक्ष प्रजापतिले उनलाई मन नपराएपछि यज्ञस्थलमा आत्मदाह गरेकी थिइन् । आत्मदाह गरेको शरीर बोकेर आत्मविह्वल हुँदै शिवजी संसारभर डुल्दा विजयपुरको डाँडामा सतीदेवीको दाँत झरेको विश्वास गरिन्छ ।भारत, बंगलदेश, भुटानबाट समेत पूजाअर्चना गर्न आउने तीर्थयात्रीका लागि दन्तकाली मन्दिर प्रमुख शक्तिपीठ मानिन्छ । उक्त मन्दिर व्यवस्थापन गर्न सेनकालमा गोर्खाबाट पुजारी ल्याइएका थिए । खनालका अनुसार विसं १८५६ मा गीर्वाणयुद्ध विक्रम शाहले रामचन्द्र खनाल र उनका सहोदर भाइ तुलारामलाई दन्तकालीमा पूजा गर्न ताम्रपत्रसमेत दिएका थिए । तिनै खनालका सन्ततिको नवौं पुस्ताका रूपमा हालका खनाल त्यहाँ पुजारीका रूपमा रहेका छन् ।


मन्दिरको नाममा सुनसरीको साविक हासपोसा हाल इटहरी उपमहानगरपालिका, मोरङको भाथिगछ र झापाको गौरीगन्जस्थित ठेकितोलमा गुठी जग्गा रहेको खनालले बताए । उनले भने, ‘तर ती गुठी जग्गा सबै रैकर गुठीमा परिणत भएका छन् । के कति जग्गा हो, त्यो सबै गुठीलाई मात्र थाहा छ ।’ ऐतिहासिक, पौराणिक मन्दिर भए पनि सरकारले संरक्षण सञ्चालनका लागि आर्थिक सहयोग नगरेको तर गुठीले वार्षिक ४० हजार रुपैयाँ मात्र दिने गरेकाले मन्दिर व्यवस्थापन गर्न मुस्किल भएको पनि उनले सुनाए ।

प्रदेश समाचार

सञ्चालन भएन विषादी प्रयोगशाला

- सम्झना रसाइली

(तनहुँ) - तरकारीको विषादी परीक्षण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुंगामा स्थापना गरेका विषादी मापन प्रयोगशाला सञ्चालनमा आउनै सकेका छैनन् ।गत वैशाख ७ गते आँबुखैरेनी गाउँपालिका–३ तनहुँ र चैत १५ गते स्याङ्जाको मालुंगा रामदीमा प्रयोगशाला कार्यालय स्थापना गरी उद्घाटन गरिएको थियो । आवश्यक पूर्वाधार, मेसिन र विषादी मापन गर्न आवश्यक पर्ने रसायनको व्यवस्था नगरी उद्घाटन गरिएका कार्यालयमा अहिले बोर्ड झुन्ड्याउनेबाहेक कुनै काम हुन सकेको छैन ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत तरकारीको पकेट क्षेत्रका रूपमा विकास गरिएको आँबुखैरेनी गाउँपालिका प्रदेशको प्रवेश नाका हो । प्रयोगशालाका विषयमा भने स्थानीय सरकार र कृषकसमेत जानकार छैनन् । आँबुखैरेनी–२ मार्किचोक तिलबारीमा व्यावसायिक तरकारी खेती गर्दै आएका तुलबहादुर गुरुङ भन्छन्, ‘गाउँपालिकाभित्र प्रदेश सरकारले प्रयोगशाला स्थापना गरेको सुनेको छु तर सञ्चालनमा आएको छ/छैन थाहा छैन, हामी पनि सेवा लिन गएका छैनौं ।’
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले पनि प्रयोगशाला सञ्चालनबारे अनभिज्ञता जनाए । ‘प्रदेश सरकारले खोलेको प्रयोगशाला के–कसरी सञ्चालन गरिँदै छ, कुनै जानकारी छैन,’ उनले भने ।


प्रदेश सरकारले नाकाबाट भित्रिने तरकारी तथा फलफूल र पशुपन्छीको रोगसमेत परीक्षण गर्ने नीतिसहित प्रयोगशाला खोलेको थियो । भाडाका तीनवटा कोठामा बोर्ड झुन्डयाएर राख्नेबाहेक उपलब्धि भएको छैन । उदघाटनपछि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानकी छोरी रजनी चुमान कार्यालय सहायकका रूपमा कार्यरत छिन् । ‘प्रयोगशालाका लागि आवश्यक पर्ने रसायन ल्याइएको छ तर परीक्षणका लागि आवश्यक पर्ने ल्याब आउन बाँकी छ,’ उनले भनिन् ।


प्रयोगशालाका लागि अधिकृतस्तरको प्राविधिकसहित ६ जनाको दरबन्दी भए पनि अन्य कर्मचारी राखिएको छैन । नयाँ बजेटले ल्याब, केमिकलका साथै प्रयोगशाला सञ्चालनमा ल्याउन आवश्यक पर्ने सामग्री खरिद तथा व्यवस्थापन गरिने कार्यालय सहायक चुमानले बताइन् । आँबुखैरेनी गाउँपालिकाको कृषि एकाइका प्रमुख खितकुमार श्रेष्ठ भन्छन्, ‘प्रदेश सरकारले प्रयोगशाला सञ्चालनमा ल्याउने भन्दै तामझामसाथ कार्यालय उद्घाटन त गर्‍यो तर कहिलेबाट सञ्चालनमा आउँछ, कुनै ठेगाना छैन ।’

Page 6
सम्पादकीय

पुस्तकालयको परिकल्पना

अमेरिकी लेखक नर्म्यान कजिनले सही भनेका छन्– पुस्तकालय विचारको प्रजनन केन्द्र हो । पुस्तकालय पर्व घटेको हाम्रै देशको इतिहास यसको साक्षी छ । खुला समाजमा पाइला चाल्दै गर्दा हामीले सार्वजनिक पुस्तकालयको महत्त्व पूरै भुलेका छौं । ज्ञान उत्पादनका केन्द्र विश्वविद्यालयहरू जसरी लथालिंग छन्, त्यसरी नै भताभुंग छन् विचारका कारखाना सार्वजनिक पुस्तकालय ।


मुलुकमा करिब हजार सार्वजनिक पुस्तकालय छन् । पाँच दर्जन त काठमाडौंमै छन् । तैपनि यी पुस्तकालय पठन संस्कृतिको केन्द्र बन्न सकेका छैनन् । सहरमा ज्ञानका भोका र पुस्तकका पारखी नभएर होइन, पुस्तकालय पुस्तकालयजस्ता नबनेकाले हो । नाम मात्रैका पुस्तकालय छन् ।


सहरी संस्कृतिको अभिन्न अंग हुनुपर्ने हो सार्वजनिक पुस्तकालय । जसरी सम्पदा सहरका आत्मा हुन्, त्यसैगरी पुस्तकालयहरू सभ्यताका ढुकढुकी । ज्ञानविज्ञानका हिसाबले सहर कति स्वस्थ र बस्नलायक छ भन्ने मानक हुन् यी ।
दुई शताब्दीअघि राजा गीर्वाणयुद्ध शाहले लालमोहर लगाएर ‘चिताइ तहबिल’ अर्थात् रेखदेख संग्रह बनाएका थिए । पुस्तक र पुस्तकालय संरक्षण गर्न वर्षको १ सय २५ रुपैयाँ छुट्याएका थिए । आजका आधुनिक शासकहरूले भने पुस्तक संरक्षणमा त्यत्तिको चेत पनि देखाएका छैनन् । देशको एउटै राष्ट्रिय पुस्तकालय चार वर्ष अघिदेखि बेहाल छ । भूकम्पले उक्त पुस्तकालय रहेको हरिहर भवन ध्वस्त बनेपछि सम्पूर्ण पुस्तक ज्ञानेश्वरस्थित महेन्द्र भवन मावि र सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रमा बोरामा थन्क्याइएका छन् ।


राष्ट्रिय पुस्तकालयमा १ लाख ८ हजार पुस्तक छन् । पत्रपत्रिका करिब ५० । पुस्तकालयमा नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषाका फरक शाखा छन् । मराठी, पाली, फ्रेन्च, जापानी, थाई, मलेसियाली र नेपालमा बोलिने विभिन्न भाषाका पुस्तक छन् । पुस्तकालयले पत्रपत्रिका र अन्य प्रकाशनलाई इन्टरनेसनल स्ट्यान्डर्ड सिरियल नम्बर (आईएसएसएन) दिँदै आएको छ । ढिलै सही, राष्ट्रिय पुस्तकालयको बनाइने नयाँ भवनको डिजाइन तयार भएको छ । सहरको पुरानो केन्द्र जमलस्थित आठ रोपनी जग्गामा यो पुस्तकालय बन्नु सुखद खबर हो । करिब ५५ करोड लागतमा दुई आधुनिक भवन बनाइनेछ । पहिलो ६ तलाको र दोस्रो ३ तलाको । भवन संरचना नेपाली कलासंस्कृति झल्कने हुनेछ । सय वर्षपछिसम्मका पाठकको कल्पना गरेर भवन बनाइने भनिए पनि यो पुस्तकालय कस्तो र कसका लागि हुनेछ अनि कसरी व्यवस्थित गरिनेछ, खुलाइएको छैन ।


पुस्तकालय हुनुभन्दा महत्त्वपूर्ण पक्ष हो– त्यहाँ उत्कृष्ट पुस्तक उपलब्ध हुनु । तिनमा सबै उमेर समूह र शारीरिक अवस्थाका पाठकहरूको पहुँच पुग्नु । पुस्तकालयको वातावरण जाऊँ–जाऊँ, बसुँ–बसुँ र पढुँ–पढुँ लाग्ने हुनु । सार्वजनिक पुस्तकालय यस्तो सामाजिक थलो हो, जहाँ कसैका लागि पनि ढोका बन्द हुँदैन । देशको राष्ट्रिय पुस्तकालय यस्तै एउटा उत्कृष्ट लोकतान्त्रिक मञ्च बन्न सक्नुपर्छ । जहाँ मन लागेका जोकोही गएर लाभ लिन सकुन् । सहरमा एउटा शिक्षित पुस्ता बिस्तारै अवकाश जीवनमा प्रवेश गरिरहेको छ । उनीहरूसँग पर्याप्त समय छ तर दिन काट्ने ठाउँ छैन । यस्तो पुस्तकालयले उनीहरूका लागि सुविधा पुर्‍याउनुपर्छ । उनीहरूका लागि सामाजिक विनिमय गर्ने, समय कटाउने र उमेर छँदा नभ्याएका पुस्तक पढ्ने थलो बन्नुपर्छ यो पुस्तकालय । त्यसैगरी बालबालिका, विद्यार्थी, प्राज्ञिक तप्का, पाठक, लेखक, कलाकर्मी जोकोहीका लागि सामाजिक थलोको आतिथ्यता दिने गरी यसको परिकल्पना गरिनुपर्छ । सबैखाले पुस्तकलाई डिजिटल माध्यममा पढ्ने सुविधा पनि मिलाइनुपर्छ । यो पुस्तकालयलाई वास्तविक रूपमा सर्वसाधारणका लागि अहोरात्र खुल्ने सर्वसुलभ र सर्वप्रिय बनाउने डिजाइन गर्न सके राष्ट्रिय स्मारक बन्न सक्छ, नभए यो बन्न जानेछ– अर्को एउटा सरकारी अड्डा ।

सम्पादकलाई चिठी

ढँटुवाहरूको रजगज

आखिर ढाँटेको कुरा र टालेको लुगा उस्तै न हो । ढाँटेको कुरा न त सधैंका लागि ढाँटिन्छ, टालेको लुगाले न लाज छोपिन्छ । प्रधानमन्त्रीको बोली पनि त्यस्तै सावित भयो । तरकारी र फलफूलमा विषादी परीक्षणसम्बन्धी पत्र आएको आफूलाई थाहा नभएको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई ढाँटेको काठमाडौंस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्र सार्वजनिक
भएपछि स्पष्ट भयो ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गएको चुनावको दिनसम्म
जनताको अपार विश्वास थियो । सत्ता सम्हालेको १७ महिनाको कामकारबाही, जनभावना विपरीतका विधेयक र असत्य वाणीले उनको विश्वसनीयता खस्केको छ । पछिल्लो कडी हो– भारतीय दूतावासले नेपाल सरकारलाई लेखेको पत्र । परराष्ट्र मन्त्रालयलाई सम्बोधन गरी करिब आधा दर्जन सरकारी निकायलाई बोधार्थ दिइएको पत्र र त्यसैको आधारमा मन्त्रिपरिषदले निर्णय फिर्ता लिइसक्दा पनि कसले पत्र लेख्यो ? कसले पढ्यो ? भन्ने ढँटुवा कुरा गर्नु लाजमर्दो हो । कार्यकारीको निकम्मापन हो । राष्ट्रलाई नै ढाँट्नेलाई कतिसम्म सर्वोच्च कार्यकारी पदमा व्यहोरिरहनुपर्ने हो ? यही अभिशप्त समयमा हामी बाँचेका छौं ।


अब नेपाल–भारतले आआफ्नो देशभित्र विषादी परीक्षण गरेको रिपोर्टलाई दुबै देशले मान्यता दिन्छौं भनी सम्झौता गरेमा दुबैको समान हैसियत पनि कायम हुन्छ र विषादीयुक्त तरकारी र फलफूलबाट उपभोक्ताको स्वास्थ्य पनि बिग्रन पाउँदैन ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, जोरपाटी, काठमाडौं

काठमाडौंस्थित भारतीय दूतावासबाट पत्र आएको धरि थाहा नपाएको बहाना गरी जनतालाई ढाँटेर विष खुवाउन उद्यतहरूलाई के भन्ने ? को प्रति वफादार छन्, यिनीहरू ? शासकको विदेशीसंँग झुक्ने, आफ्ना जनतालाई भुक्ने रवैया उदाङ्गिएको छ । सरकारी प्रवक्ताले पत्र आउनु सामान्य भने पनि पत्रपछि मन्त्रिपरिषदले जुन निर्णय गर्‍यो, त्यो किमार्थ सामान्य होइन । कुनै पनि देशका राजदूतले आफ्नो देश र नागरिकको हितका लागि काम गर्छन् । भारतीय राजदूतको पत्र पनि उनको देशका किसान र व्यापारीका हितका लागि लेखेको हो । तर त्यो पत्रमा उल्लेखित विषयमा दोहोरो संवादसमेत गर्न नसक्ने हाम्रा मन्त्री र सचिवले जस्तोसुकै तर्क दिए पनि क्षम्य हुँदैन ।
– ध्रुवप्रसाद आचार्य, गोठाटार, काठमाडौं

सम्पादकलाई चिठी

सांसदहरू ! हामीलाई पनि दसैँ मान्न दिनुहोस्

पेन्सनवाला कर्मचारीहरूले छिमेकी राष्ट्रका कर्मचारीभन्दा कम तलबमा देश सेवा गरे । त्यसैले तिनलाई वृद्धभत्ता नदिएकोमा दिनुपर्छ भन्नुपर्नेमा आफूहरूलाई सेवासुविधा थप्न हो कि किन हो, तिनले पाइआएको पेन्सन सरह १ महिनाको दसैं खर्च पनि काट्ने कुरा पो गर्दैछन् त, के हो यिनको चाला ?

पेन्सनवालाहरूको दसैंभत्ता कटौती गर्ने सुझाव ठिक छैन । भारतका पेन्सनवाला सिपाहीदेखि अफिसरहरूले ३०,०००–१,५०,००० रुपैयाँसम्म मासिक र ब्रिटिसका सिपाहीले ५७,०००–२,००,००० सम्म मासिक पेन्सन पाउँछन् । उनीहरूलाई नेपाल सरकारले पनि वृद्धाभत्ता दिँदै आएको छ । उनीहरूलाई बिरामी हुँदा भारत र ब्रिटिस सरकारले पूर्ण खाना, खाजा, अस्पताल, बेड र उपचार निःशुल्क छ, तर उनीहरूलाई कुनै कर लाग्दैन । नेपालका हामी पेन्सनवालाले आफ्नो पेन्सनको १ प्रतिशत सामाजिक सुरक्षा कोष भनी कर काट्नुपर्छ । तर हामी वृद्धवृद्धा पेन्सनवाला कर्मचारीलाई वृद्धभत्ता, विधुवा भत्ता उपलब्ध छैन । यदि नेकपाले वृद्धाहरूलाई सम्मानस्वरुप वृद्धभत्ता, एकल भत्ता दिएको हो भने हामी नेपाली पेन्सनवालाले पनि पाउनुपर्‍यो । नत्र कसैले पनि पाउनु भएन । बरु धनीमानी वृद्धवद्धाले आफ्नो वृद्धाभत्ता नलिइदिन अनुरोध गर्ने र विदेशी पेन्सनवालाको पनि वृद्धभत्ता कटौती गरी थप हुन आउने रकम निम्न आय भएका वृद्धवृद्धालाई थपिदिन सुझाव दिए धेरै बुद्धिमानी हुन्थ्यो भन्ने सांसदज्यूहरूलाई सुझाव टक्र्याउन चाहन्छु ।
– चन्द्रसिंह गुरुङ, शुनपा–५, दुलेगौंडा, तनहुँ

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा पूर्व कर्मचारीहरूलाई दिँदै आएको चाडपर्व खर्च न्यायसम्मत नभएको तथा राज्यलाई बोझ हुने भनी कटौतीका लागि सांसदहरूले आवाज मुखरित गर्नु भएछ । माननीयज्यूहरू, तपाईहरूलाई याद हुनुपर्ने हो, आफ्नो जीवनको युवा अवस्था, सिर्जनाका हरेक कोपिलाहरू राज्यलाई उत्सर्ग गरेका हुन्छन्, पूर्व कर्मचारीहरूले । ती सबै केका लागि ? राज्य निर्माणमा आफ्नो देन दिँदै वृद्ध अवस्थामा सहज जीवन निर्वाह पनि एक उद्देश्य हो, तिनको । माथिल्लो तहबाट पेन्सन हुनेहरूलाई त चाडपर्वको खर्च कटौतीले खासै प्रभाव नपर्ला, तर तल्लो तहबाट निवृत्त भएका कर्मचारीहरूलाई भने प्रत्यक्ष प्रभाव पर्छ । जब ती वृद्ध हुन्छन्, तिनको सहारा बन्छ पेन्सन, अनि चाडपर्वमा पाउने खर्च । हाल बहाल रहेका कर्मचारी पनि त भोलि पूर्वकमर्चारी बन्ने नै छन् । के ती बहालवाला कर्मचारी पनि केही नबोली बस्लान् र तपाईहरूको यी गलत आवाज विरुद्ध ? माननीयज्यूहरू, तपाईहरूमा राष्ट्रप्रतिको जिम्मेवारी र कर्तव्यबोध छ भने पूर्व कर्मचारीको चाडपर्वको खर्च कटौती हैन, राज्यको बोझको रूपमा विकसित भइरहेको प्रत्येक संघीय सांसदले संविधान विपरीत लिने ६ करोड, प्रदेश सांसदले लिने लाखौं तथा करोडौं रुपैयाँ, नेता र तिनका आसेपासे कार्यकर्ताहरूले औषधी–उपचारका नाममा लिने करोडौं रुपैयाँ, चाडपर्वका नाममा कार्यकर्तालाई वितरण गर्ने लाखौं रुपैयाँ, बिभिन्न नाममा धर्मप्रचारका लागि आयातित संस्थालाई दिने अर्बौं रुपैयाँ कटौती गरी राज्यकोषमा दाखिला गर्नेतर्फ लाग्नुहोस् । सबै नागरिकले तपाईहरूलाई सदैव सम्झनेछन् ।
– एलन लामिछाने, भीमसेन थापा–३, गोरखा

पेन्सनवाला राष्ट्रसेवकहरूको पर्व खर्च काट्नुपर्छ भनी सत्तासीन पार्टीका सांसदहरूले प्रस्ताव राखेको सुन्दा साह्रै दुःख लाग्यो । कम्युनिष्ट सरकार पेन्सनवाला राष्ट्रसेवकहरूको हकहित विरोधी रहेछ । शरीरमा खुन, पसिना होउन्जेल राष्ट्रको सेवा गरे बापत पेन्सन पाएका हुन् । कसैले दयामाया राखेर दिएको होइन । अहिले किन १ महिनाका पर्वभत्ता कटौतीको कुरा उठ्यो ? कम्युनिस्ट सरकारले राष्ट्र सेवक पेन्सनवालाहरूको सुविधा कटाउने प्रस्ताव राख्नु कतिसम्म नैतिकता हो ? पेन्सनवाला राष्ट्रसेवकहरूलाई अरु थप सुविधा दिन ऐन ल्याउनुपर्नेमा भएकै पर्व खर्च पनि काट्ने कुरा कहाँसम्मको न्याय हो ? ‘एक माघले जाडो जाँदैन’ भन्ने कम्युनिष्ट पार्टीको सरकारले बुझोस् । दुई तिहाइको दम्भ लागेको ? होशियार, पेन्सनवाला राष्ट्रसेवकलाई दुःख दिने दिने काम नगर । बरु सुविधा थप्ने काम गर, सुविधा कटाउने काम गर्‍यौ भने खोला खर्क गइएला । विनाश काले विपरीत बुद्धि नगर । दूरदर्शिता अपनाऊ । समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा दिने अनि राष्ट्रसेवकलाई रुवाउने ? तसर्थ पेन्सनवालाको पर्व खर्च नकाट, अरु सुविधा थप्ने काम गर । अन्यथा गाह्रो पर्ला । गाह्रोसाह्रो कसैलाई पनि नहोस् । पेन्सनवाला राष्ट्रसेवकको आँसुले नपिरलोस् ।
– हर्कनारायण श्रेष्ठ, त्रियुगा नपा–१०, उदयपुर

सोमबार प्रकाशित ‘पेन्सनवालालाई दसैं खर्च नदिन माग’ समाचार अनुसार आइतबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सत्तारुढ दलका सांसद जनार्दन शर्माले राख्नुभएको उक्त प्रस्तावमा प्रतिपक्षी दलकी सांसद डिला संग्रौलाले समर्थन जनाउनु भएछ । सांसदज्यूहरूको विचारमा यसरी चाडपर्व खर्च दिनु राज्यलाई बोझ हो । माननीय सांसदज्यूहरूलाई प्रश्न गर्न मन लाग्यो ः त्यसो भए सांसद विकास कोषमा वृद्धि, उनीहरूको विदेश भ्रमण र उपचार खर्चमा वृद्धि, आजीवन लिन मिल्नेगरी व्यवस्था मिलाइएको सेवासुविधाका साथै तलब–भत्तामा गरिएको वृद्धिले चाहिँ राज्यलाई बोझ हुँदैन र ? राज्यका विभिन्न निकायमा व्याप्त भ्रष्टाचारको प्रमुख कारक तत्त्व नै राष्ट्रसेवकहरूको सीमित तलब, पेन्सन तथा सेवासुविधा थोरै हुनु हो भन्ने जगजाहेर नै छ । बरु माननीयज्यूहरू, साधारण जीवन बाँच्न पुग्नेगरी विविध निकायमा सेवा गर्ने कर्मचारीहरूलाई तलब–भत्ता र सेवासुविधा दिलाई हेर्नुहोस् त जम्मा एक वर्षमात्र ।


भ्रष्टाचार र बेथिति विस्तारै कम हुन्छ । यसैमा समाचारमा ‘किसानलाई पेन्सनको व्यवस्था गरिनुपर्ने’ माननीयज्यूहरूको तर्कले आश्चर्यचकित पार्‍यो । ए हजुर, किसानहरूलाई सहुलियत ब्याजदरको ऋण, आवश्यक मलबिउ, औजार र सिंचाइको व्यवस्था मिलाइदिनुहोस् । उनीहरूका उत्पादनलाई बिचौलियाविनै सोझै बजारमा बेच्न सकिने आधार तयार गरिदिनुस् । किसानहरू आफै स्वावलम्बी र आत्मनिर्भर बन्नेछन् । किन अनावश्यक तर्क/कुतर्कमा समय बर्बाद गर्नुहुन्छ ?
– राजन अधिकारी, बूढानीलकण्ठ, काठमाडौं

दृष्टिकोण

राष्ट्रवादको विषादी–बुमर्‍याङ

सीधा–सीधा
- युग पाठक

बाँसको अग्लो खुट्टा जोडेर हिँड्ने एकथरी सर्कस–कलाकार हुन्छन् । कठिन अभ्यासबाट पोख्त हुँदाहुँदै पनि कहिलेकाहीं दुर्घटना हुन्छ, ती लड्छन् । सर्कस हो, दुर्घटनै भए पनि चलिरहन्छ । राजनीतिमा चलेको राष्ट्रवादी सर्कसको कथा पनि त्यस्तै छ । राष्ट्रवादको बाँसेखुट्टा लाएर अग्लो देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पटक–पटक भुइँमा पछारिने गर्छन् । तैपनि राजनीतिमा राष्ट्रवादको सर्कस चलिनै रहेको छ ।


यस पटक राष्ट्रवादको विषादी–बुमर्‍याङमा परे स्वयम् प्रधानमन्त्री ओली । भारतबाट आयात हुने फलफूल र तरकारीका ट्रक नाकामा रोकेर विषादी परीक्षण गर्ने झिनो प्रयत्न सरकारले गरेकै हो । यो खराब कुरा थिएन । खराब कुराचाहिँ क्वारेन्टाइन प्रयोगशालाको प्राविधिक तयारी पूरा नगरी ट्रक रोक्ने निर्णय थियो । झनै खराब बन्नपुग्यो, भारतीय दूतावासको चेतावनीबाट तर्सेर विषादी परीक्षण स्थगित गर्ने मन्त्रिपरिषदको निर्णय ।

ओलीपन्थको चटक
नेपालमा राष्ट्रवाद एक आरोपको खेल हो । राष्ट्रको हित कसरी गर्ने भन्ने चिन्तन यसभित्र पर्दैन, बरु निरन्तर अराष्ट्रिय तत्त्वको खोज यसको अभिष्ट हो । महाकाली सन्धि हुँदा तत्कालीन एमालेमा प्रभाव जमाइसकेका ओली एक नम्बरका ‘राष्ट्रघाती’ कहलाइएका थिए । महाकाली सन्धि पारित हुनुभन्दा पहिले सांसद खरिद–बिक्रीदेखि थाइल्यान्डसम्म लगेर सांसदहरूलाई कब्जामा राखिएको र एकैपटक सन्धिको पक्षमा मत हाल्न मध्यरातमा संसद ल्याइएको खबरले त्यतिखेर मुलुक स्तब्ध थियो । एमालेलाई सन्धिको पक्षमा मत हाल्ने तुल्याउन ओलीले निर्णायक भूमिका खेलेको सम्झनेहरू अझैसम्म चर्चा गर्छन् ।


दुई दशकपछि नाकाबन्दीको चक्करमा उनै ओली फेरि एकाएक राष्ट्रवादी मुखुन्डोमा देखापरे । यो कुनै गाह्रो काम पनि होइन । लामो समयदेखि सत्ताले बनाइराखेको राष्ट्रवादको भाष्य छँदैछ, मान्छेमा त्यसको अन्धविश्वास पनि छँदैछ । अनि के चाहियो ? ओलीले त्यही अन्धविश्वासको तावा तताए र चुनावको रोटी उक्साइहाले । भन्दिनु त हो, मोदीको भारतलाई केही उखानको झटारो पनि हानेकै हुन्, उतिबेला । भारतको प्रधानमन्त्री भैसकेपछि जब मोदी नेपाल भ्रमणमा आए, जहाँ टेक्यो त्यहीं नागरिक अभिनन्दन पनि उनैले गराए ।


एमालेजनले दुई वर्षअघि तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दहाललाई अराष्ट्रिय करार गर्न लम्पसारवादी भन्ने शब्द नै कथेका थिए । मोदीको चाप्लुसीपछि त्यही शब्द बुमर्‍याङ भएर प्रधानमन्त्री ओलीको थाप्लोमै बजारियो । सर्कसको रमाइलो के भने उनै दाहाल एमालेजनकै पनि अध्यक्ष भैदिए । आम जनतालाई त ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात !’ दुःख उनीहरूको हो, जो ओलीपन्थमा राष्ट्रवाद खोज्ने दुःखद् प्रयत्न गरिरहन्छन् । विषादी–बुमर्‍याङमा परेर प्रधानमन्त्री ओलीको बाँसको खुट्टा भाँच्चियो, राष्ट्रवाद दुर्घटित भयो । चटक हो, उनलाई फरक पर्दैन । फरक जसलाई पर्ने हो, उनीहरूलाई ‘थाहा’ चाहिएको छ । इतिहासले देखाएको ‘थाहा’ नबुझ्नेलाई वर्तमानले बुमर्‍याङ नै दिने हो ।

घुँडाको भ्वाङ
वास्तवमा ओली न कुनै दिन राष्ट्रवादी थिए, न अचानक विषादी परेर आज अराष्ट्रिय तत्त्व भएका छन् । सवाल को कति राष्ट्रवादी भन्ने नै होइन । हुन त मौका पाउनासाथ कांग्रेस सांसद गगन थापाले भारतसामु घुँडा टेक्दा प्रधानमन्त्रीको घुँडामा भ्वाङ परेको टिप्पणी संसदमै गरे । धेरै कांग्रेसजन र अरु राष्ट्रवादी सर्कसका फ्यानहरूले पनि यस्ता टिप्पणी खुब दोहोर्‍याए । बुमर्‍याङ प्रधानमन्त्री ओलीले खप्नुपरे पनि सर्कस त आखिरमा आम जनताले बेहोर्नुपरेको छ ।


मन्त्री मातृका यादवले पत्रकार सम्मेलन नै गरेर सचिवले झुक्याएको बताउनुपर्‍यो । भीम रावल लगायत नेकपाकै केही नेता र सांसदहरू पनि सरकारको आलोचना गरेरै सही राष्ट्रवादी देखिने सर्कसमा बाँसको खुट्टा जोड्न लागेका छन् । अनौठो कुरा होइन, पार्टीभित्र गुटको खेल छँदैछ । भारतीय दूतावासको चिठी सार्वजनिक हुनु अघिसम्म प्रधानमन्त्री ओली स्वयम् पनि चिठी आएको तथ्य छोपेर झोँक देखाइरहेका थिए । यी सबै राष्ट्रवादी चटक घुँडाको भ्वाङ छोप्ने दुःखद स्पष्टिकरण मात्र हुन् ।


भ्वाङ त साँच्चिकै परेकै छ, घुँडामा । शक्तिशाली मुलुकले कमजोर मुलुकप्रति गर्ने थिचोमिचोको कथा ज्युँदो भैरहन्छ । शक्तिशाली शासकले गरिब सीमान्तकृत जनतालाई गर्ने थिचोमिचो जस्तै । घुँडाकै घाउजस्तो बल्झिरहन्छ । सवाल त घुँडा कति बलियो बनाइन्छ र कति जोगाइन्छ भन्ने हो । अग्लिनलाई बाँसकै खुट्टामात्र खोजिहिँड्ने हो भने घुँडामा भ्वाङ त परिरहन्छ । सत्तापक्षदेखि प्रतिपक्षसम्म आफूलाई चौबिस क्यारेटको राष्ट्रवादी र विरोधीलाई लम्पसारवादी देखाउने मौका चुकाउँदैनन् । तर साँच्चै मुलुकको घुँडा बलियो पार्ने चिन्ता उनीहरूमा छ त ?

सत्ताको विष
हाम्रो बजार उसै अराजक छ । तरकारी, फलफूल लगायत खाद्य पदार्थमा अखाद्य पदार्थ र विषादी भेटिएको समाचार निरन्तर आइरहन्छ । त्यसमाथि ६५ प्रतिशत व्यापार घाटा भारतसँग हुने गर्छ र तरकारी, फलफूल लगायत खाद्यान्नमा समेत नेपाल भारतकै उत्पादनमा निर्भर छ । कृषिप्रधान मुलुक भन्न नछाड्ने तर खानेकुरामा समेत विदेशकै भर पर्नुपर्ने लाजमर्दो अवस्थाको जवाफ हाम्रो राष्ट्रवादले दिन जरुरी ठान्दैन । विषादी परीक्षण प्रकरणले यो तथ्यलाई पुनः एकपटक हाइलाइट गरिदियो ।


श्रम र युवा उमेर मात्र निर्यात गरेर रेमिटान्स सोहर्ने आत्मघाती खेलमा ओली सरकार पनि निमग्न देखिन्छ । खेतबारी बाँझो पल्टिनु र उर्वर जमिनसमेत दलालको प्लटिङ धन्दामा ध्वस्त भैरहनुसँग पनि राष्ट्रवादी भाष्यको कुनै सरोकार छैन । विदेश गएकालाई समेत देश फर्काउने भाषण चुटेर सिंहदरबार सम्हालेको सरकारका श्रममन्त्री युवालाई विदेश धपाउने काम गर्नसकेकोमा गौरवान्वित छन् । कृषि ध्वस्त छ, कृषकको सुरक्षा छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा बचेको झिनो पुँजी पनि छरछार पारेर सक्ने सरकारी नियत छ ।


दर्जनौं काण्डको दागैदागले प्रधानमन्त्रीको राष्ट्रवादी अनुहार भरिइसक्यो । निकुञ्जका जमिनसमेत रिसोर्ट खोल्ने नाममा हत्याउने दाउमा संरक्षित व्यापारी छन् । तिनले जग्गामात्रै हडप्छन् कि बचेखुचेका संरक्षित जनावर र जडिबुटीको कत्लेआम पनि गर्छन्, पत्तो छैन । नांगो नाच जारी छ, भ्रष्टाचारको । सरकार भने आलोचनासँग पो निद्रैमा तर्सिरहेको छ । त्यसैले ज्ञानमा बिर्को लगाउन किताबमा कर ठोक्छ । पत्रकारिता र स्वतन्त्र चिन्तनलाई बिर्को लगाउने विधेयक ल्याउँछ । प्रधानमन्त्री स्वयम्चाहिँ मास्क लगाउने अनुहारमा दुश्मन खोजिबस्छन् ।


चटके राष्ट्रवादले खोज्ने नै दुश्मन हो । आरोप लगाउन आलोचक अनुहार, इन्काउन्टर गर्न विप्लवी नेता, मुद्दा चलाउन कवि, जेल हाल्न मास्क लगाएको मनुष्य खोजेरै ओलीपन्थले पनि राष्ट्रवादी सर्कस चलाइरहेको छ । यो सर्कसको सबैभन्दा निष्ठुर र कर्कश रूप कुमार पौडेलको हत्यामा प्रकट भएको छ । आफ्नै टाउकाको मोल तोकिएको इतिहास कुल्चेर गृहमन्त्री रामबहादुर थाफा त्रूर हत्यालाई दोहोरो भिडन्तको नाममा पचाउन खोजिरहेछन् । सत्ताको विष तरकारीको विषभन्दा डरलाग्दो भैरहेको योभन्दा ज्वलन्त उदाहरण के होला ?


क्वारेन्टाइन चेकपोष्टहरू एकदिन बन्लान्, विषादी परीक्षण पनि होला । व्यापारीले घुस खुवाएर तरकारी, फलफूल पास पनि गराउलान् । यस्तो खेल वर्षौंदेखि चलिरहेकै छ । खास गर्नुपर्ने परीक्षण सत्ताको विषको हो । जनतामाथि लगानी गरेर उत्पादन बढाउने काम यसले गर्ने छैन । बाँझो जमिनमा पसिना बगाउने जनतालाई पाखा र दलालहरूलाई काखा गरेर यसले राष्ट्रवादको धन्दा चलाउने हो । जनता बलियो भए पो उत्पादन बढ्छ, मुलुकको घुँडा बलियो हुन्छ ।


जनताले रगत चढाएर ल्याएको परिवर्तनलाई भत्भुते खरानीले छोपछाप पारेर ओलीपन्थको उदय भएको हो । त्यसैले यो फासीवादको प्रारम्भिक अभ्यासमा छ । जनताको खुसहालीका निम्ति काम गरे पो आलोचनाको डर हुन्न । अन्यथा बोल्नेको मुख थुन्ने बाहेक अरु एजेन्डा बाँकी रहन्न । अहिले विषादी–बुमर्‍याङमा परे पनि राष्ट्रवादको खोटो सिक्का चलेसम्म ओलीपन्थले पुनः बाँसको खुट्टा जड्नेछ । चिन्नुपर्ने त्यही बाँसको खुट्टा हो ।
ट्वीटर : @YugPathak

Page 7
दृष्टिकोण

एसियाको उदय

- रमेश केसी

 

सी एनएनका फरिद जकारियाको कार्यक्रम जीपीएसमा बोल्दै बेलायतका भूतपूर्व प्रधानमन्त्री टोनी ब्लेयरले एक्काइसौं शताब्दीको मध्यमा विश्वमा अमेरिका, युरोप, चीन र भारत चार शक्तिहरू सक्रिय रहने बताएका थिए । साँच्चै, अन्तर्राष्ट्रिय मामिलाका रणनीतिकारहरू भन्छन्— वर्तमानमा अमेरिका आफ्नो नेतृत्वको एकध्रुवीय विश्व र बहुध्र्रुवीय एसिया चाहन्छ । चीनलाई विश्व बहुध्रुवीय र एसियामा आफ्नो नेतृत्व चाहिएको छ । भारत भने बहुध्रुवीय विश्व र बहुध्रुवीय एसियाको पक्षमा छ ।


वर्तमान विश्वराजनीतिमा अमेरिकाको क्षय र चीनको उदय महत्त्वपूर्ण विषय भएको छ । विगत बीस वर्षमा जति पनि किताब लेखिए, प्रायः चीनको उदयलाई लिएर लेखिए । तर, विदेश मामिलामा कम उमेरमा धेरै विज्ञता हासिल गरेकाले ‘न्युयोर्क टाइम्स’ ले ‘ह्वीज किड’ भनेका पराग खन्नाको नयाँ किताब ‘द फ्युचर इज एसियन ः ग्लोबल अर्डर इन द ट्वेन्टी फर्स्ट सेन्चुरी’ ले भने एसियाकै उदय भइरहेको प्रमाणित गरेको छ । उनका अनुसार ६ सय वर्षपछि एसियाले आफूलाई पुनः आविष्कार गरिरहेको छ । यो पुनराविष्कारमा चीनको उदय प्रमुख घटना भए पनि चीन मात्रै होइन सम्पूर्ण एसियाको उदय भएको उनको ठम्याइ छ । सोह्रौं शताब्दीमा, जतिखेर युरोप मध्ययुगमा थियो त्यति बेला चीन विश्वकै सम्पन्न र विकसित राष्ट्र थियो । चीन आफूलाई ब्रह्माण्डकै मध्य अधिराज्य ठान्थ्यो । तर पछि औद्योगिक क्रान्तिको जन्मसँगै युरोपको, विशेष गरी बेलायतको उदय भयो । उनीहरूले विश्वलाई उपनिवेश बनाए । उन्नाइसौं शताब्दी युरोपको थियो भने बीसौं शताब्दी अमेरिकाको । अब एक्काइसौं शताब्दी सम्पूर्ण एसियाको हुनेछ । खन्नाले अहिले एसिया अर्डर अर्थात् व्यवस्था बन्न थालेको बताएका छन् । एसियामा उनले पश्चिम एसियाको इजरायल र अरब राष्ट्रदेखि मध्य एसिया हुँदै दक्षिणपूर्व र उत्तर एसिया हुँदै न्युजिल्यान्ड र अस्ट्रेलियासम्मलाई सामेल गरेका छन् । उनका अनुसार, एसियाको आर्थिक वृद्धिको इतिहास जापानबाट सुरु भएर त्यसलाई पछि सिंगापुर, ताइवान, हङकङ र दक्षिण कोरियाले अनुसरण गरेका हुन् । यही सम्भावित चमत्कार देखेर देङ स्याओ पिङले चीनमा सन् १९७८ मा आर्थिक उदारीकरणको सुरुआत गरे । त्यही चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ ।


बृहत्तर एसियामा करिब ५ अर्बको जनसंख्या छ भने त्यसमा चीनको मात्रै १.५ अर्ब छ । भारतमा १ अर्बभन्दा बढी जनसंख्या छ । पूर्वी र पश्चिम एसियामा मुसलमानहरूको बाहुल्य छ । यसर्थ चीनको मात्र होइन कि, सम्पूर्ण एसियाको उदयले विश्वलाई बहुध्रुवीय बनाउनेछ । एसियामा चीन, जापान र भारत ठूला शक्तिराष्ट्र बन्नेछन् । पश्चिम एसियामा साउदी अरेबिया र टर्की शक्तिसम्पन्न राष्ट्र हुनेछन् । युरोपेली राष्ट्रहरूको उपनिवेश, शीतयुद्धकालीन दुईध्रुवीय विश्वको तनावबाट गुज्रिसकेको एसिया अहिले आत्मनिर्भर बनिरहेको छ । यसले राष्ट्रहरूबीच एसियाकरण गरिरहेको छ । अहिले एसियाली राष्ट्रहरू बाह्य राष्ट्रभन्दा आफूबीच व्यापार गरिरहेका छन् अनि यो क्षेत्र जनसंख्या, प्राकृतिक साधनस्रोत, सैनिक र आर्थिक हिसाबले पश्चिमभन्दा ठूलो छ । यसलाई पराग खन्नाले एसियाको फिर्ती पनि भनेका छन् ।


चीनले सन् २०१२ मा प्राचीन सिल्क
रोडलाई आधुनिक सन्दर्भमा सार्थक बनाउन सुरु गरेको बीआरआई एक्काइसौं शताब्दीको सबैभन्दा ठूलो कथा बनेको छ । यहीँबाट विश्वमा बहुध्रुवीयताको बीजारोपण भएको हो । चीनसँगै दक्षिणपूर्वी एसिया आर्थिक वृद्धिका क्रममा छ भने भारतले वृद्धिमा उछिनेको छ । केही छोटो समयपश्चात् भारतको जनसंख्या चीनको भन्दा बढी हुनेछ ।


करिब ७ सय वर्षपहिले मंगोल सम्राज्यका बेला एसियाको भूगोल एउटै थियो । उन्नाइसौं शताब्दीमा युरोपेलीहरूले शासन गरेको एसियालाई बीसौं शताब्दीमा अमेरिकीहरूले अमेरिकीकरण गरे । ३० वर्षयता एसियाकरण सुरु भैसकेको पराग खन्नाको दाबी छ । एसियाको उदयले विश्वमा कोही पनि एक नम्बर नरहने उनको निचोड छ । उनको आकलन अनुसार, चीन र अमेरिका दुईध्रुवीय हुन्छन् । जापान तेस्रो शक्ति बन्छ भने रुस चौथो र भारत पाँचौं । अमेरिका अहिले प्रशान्त क्षेत्रको मात्रै शक्ति हो । जापान, दक्षिण कोरिया, भारत र आसियानसँग चीनको व्यापार अमेरिकाको भन्दा ठूलो छ । एसियाली राष्ट्रहरूबीच व्यापार, कूटनीति र सांस्कृतिक आदानप्रदान तीव्र रूपमा भइरहेको छ ।


एसिया द्वन्द्वमुक्त भने छैन । इजराइल–प्यालेस्टाइन द्वन्द्व, उत्तर कोरियाको आणविक समस्या, भारत–पाकिस्तान द्वन्द्व, पूर्वी चीन समुद्रमा चीन–जापान तनाव आदिले एसिया तत्काल संकटमुक्त हुने सम्भावना पनि छैन । भविष्यमा भने यस्तै अवस्था नरहन सक्छ । एसियामै अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत, दक्षिण कोरिया र जापान जस्ता प्रमुख प्रजातन्त्रहरू क्रियाशील रहनेछन् । कजाकस्तानले युरोप र एसियाबीच पुलको काम गर्नेछ । भारत हिन्द महासागरमा सामुद्रिक शक्ति रहनेछ । यसैले एक्लो चीनको उदयले मात्रै एसियाको प्रतिनिधित्व गर्न सक्दैन । एसियाको परिभाषा युरोपेलीहरूले तयार पारिदिए । अमेरिकीहरूले शीत युद्धका बेला भू–राजनीति गरे तर अब एसियालीहरू आफ्नो कथा आफै लेखिरहेका छन् । एक थरी रणनीतिकारहरू भन्छन्— चीनको उदयले उसको अमेरिकासँग युद्ध पनि हुन सक्छ । अहिले चीन र अमेरिकाबीच व्यापार र प्रविधि युद्ध चलिरहेको छ । एउटा स्थापित महाशक्तिबाट अर्को उदाउँदो शक्तिले सत्ता हत्याउन खोज्दा यस्ता सोह्र संक्रमणका क्रममा ५ सय वर्षयता बाह्र वटा शक्ति संक्रमण युद्धमा परिणत भएका छन् ।


एसियाको उदय भनेको विगत ४ सय वर्षमा यहुदी र इसाई परम्पराको विश्वमा भएको हालीमुहालीको पनि कटौती हो । एसिया विश्वका सबै प्रमुख धर्मको उत्पत्तिस्थल हो । भाषा, संस्कृति, राजनीतिक प्रणाली र इतिहासले विविधतायुक्त एसियाको हालैको स्मृतिमा व्यवस्थाको अवधारणा थिएन । तर, अब अर्डरको अवधारणा विकसित हुन थालेको छ , जसको सुरुआत बीआरआईसँग सुरु भएको हो । एसिया विश्वमा छाएको छ । अमेरिकामा एसियाली मूलका मानिसहरूको सफलताले पनि एसियालीहरूको क्षमता र कल्पनालाई देखाउँछ । एसियाबाट विश्वका अरू क्षेत्रका मानिसले पनि सिक्न सक्छन् । विश्वका वायुसेवाहरू अहिले एसियामा केन्द्रित छन् । ‘क्रेजी रिच एसियन’ जस्ता फिल्मले हलिउडमा स्थान पाएका छन् । योगले संयुक्त राष्ट्रसंघबाट आफ्नो दिन घोषणा गराएको छ । यसर्थ एसियाको व्यापक सांस्कृतिक विरासत विश्वव्यापी बन्दै गएको छ ।


सांस्कृतिक रूपमा मात्रै होइन, सैन्य रूपमा हेर्दा एसियामा चीन, भारत, पाकिस्तान, इजरायल, उत्तर कोरिया जस्ता आणविक शक्ति हुन् । विश्वको सबैभन्दा ठूलो सैन्य संख्या पनि एसियामै छ । पश्चिमी इतिहासकारहरूले एसियालाई रहस्यमय र रङ्गीन भूगोलका रूपमा चित्रित गर्दै आएका थिए । उपनिवेशको यो पूर्वीयवादले पश्चिमीहरूको पूर्वाग्रहलाई देखाउँछ । तर आज एसिया समृद्धि, वैज्ञानिक र यथार्थपरक धरातलमा उभिन खोजेको छ ।
एसिया अब ब्रान्ड बनेको छ ।

दृष्टिकोण

वाग्मतीको अर्थ–राजनीति

डेटलाइन तराई
- चन्द्रकिशोर

संस्कृतिनिष्ठ भारतीय राजनीतिज्ञ राममनोहर लोहिया आफ्नो देशको दक्षिणी भूगोलको यात्रामा थिए । नदी, पहाड र जंगललाई असाध्य माया गर्ने उनी त्यस क्षेत्रको कुनै नदीमा नुहाउने तरखर गर्दैगर्दा माझीले सोधे, ‘तपाईं कुन नदी किनारको ?’ लोहिया एक छिन सोचमग्न भएपछि बोले, ‘म त सरयूपुत्र हुँ ।’ माझीले फेरि सोधे, ‘त्यसो भए तपाईं राजा रामचन्द्रको गाउँको ?’ लोहिया मुस्कुराए । लोहिया आफ्नो कुन चाहिँ चिनारी मन पराउँथे, त्यो त अनुमान मात्रै गर्न सकिन्छ, यति चाहिँ भन्न सकिन्छ— उनले नदीसँग जोडिएको चिनारीलाई भने आजीवन बिर्सेनन् ।


व्यक्तिको परिचय कतिपय सन्दर्भमा नदी आधारित हुन्छ । प्र्रत्येक व्यक्ति र उसको मूल समाज कुनै विशिष्ट भूगोलको अभिव्यक्ति नै हुन्छ । थातथलो प्रकट हुने भूगोल नै प्रथम पहिचान हुन्छ । यस मेसोबाट हेर्दा काठमाडौं उपत्यकालाई चिनारी दिने वाग्मती सभ्यता नदी आधारित नै हो, जसले मधेसलाई समेत जोड्छ । मधेसका वाग्मती छेउछाउका बासिन्दा उपत्यकाका जस्तै ‘वाग्मतीका सन्तान’ हुन् । भयो के भने, राज्यको विगतको चरित्रले गर्दा वाग्मती नदी भन्नेबित्तिकै काठमाडौं खाल्डोमा सीमित उसको स्वरूप र सम्पदाको विम्ब मुखर भयो । मधेस झरेपछि वाग्मती नदीले नुनथरदेखि दक्षिणी सिमानाको ब्रह्मपुरी गाउँसम्म फैलिएर सर्लाही र रौतहटलाई छुट्याउँछ । कर्मैया ब्यारेजबाट फुत्किएपछि बचेको वाग्मतीको स्थिति त्यस्तो इमानदार मान्छेको जस्तो छ, जो समाजको अव्यवस्थित तप्कासँग जुझेर थाकिसकेको छ र यतिखेर कसैको पनि नभएर चुपचाप दक्षिणमुखी हुन चाहन्छ । वाग्मतीलाई मधेसमा कसैले आफ्नो मान्दैनन् ? फगत दोहन गर्न मात्रै चाहन्छन् ? यसो हो भने, यसलाई जनसामान्यले ‘आमा’ भनेर अझै पुज्ने र पुकार्ने कारण के हो ? कसरी एउटा सभ्यता, संस्कृति, एउटा जीवनरेखा केवल एउटा नदीमा रूपान्तरित भयो ? आखिर नदी संस्कृति भनेको पुर्खाहरूले युगयुगदेखि जम्मा गरेको मह हो !


कुरा यही टुंगिँदैन । वाग्मती भारतीय भू–भाग भएर पनि बग्छ । सन् १९७५–७७ मा बिहारको ढेङ वरिपरिदेखि रुनी सैदपुरसम्म तटबन्ध निर्माण गरियो, जसका कारण लामो समयसम्म रौतहटको सदरमुकाम गौरवरपरका तथा सर्लाहीका विभिन्न गाउँ वर्षेनि डुबानमा पर्दै गए । यतिखेर फेरि तटबन्ध अग्लो गर्नुपर्ने योजना उतातिर प्रस्तावित छ । तर्क छ, नदीको सतह अग्लिँदै गएकाले तटबन्ध अग्ल्याउनु आवश्यक छ । काठमाडौं र बिहार (भारत) बीच मधेसमा रहेको वाग्मतीको आफ्नै कथा र व्यथा छ, जुन सधैं ओझेल पर्ने गरेको छ । बाढी आउँदा यहाँको सरोकारले चर्चा पाए पनि बिस्तारै सेलाउँछ ।
संघीय राजधानी र दक्षिणी सीमा जोड्ने एउटै नदी हो, वाग्मती । तर यसबारे केवल काठमाडौंकेन्द्रित बहस चल्छ । यसमा उनीहरूको मात्र दृष्टिदोष छैन । समथरका वाग्मतीका बासिन्दाले पनि नदीलाई केवल बालुवा व्यापार होइन, जीवनको आधारका रूपमा स्विकार्नुपर्छ । भारतको सहयोगमा वाग्मतीका दुइटै किनारमा तटबन्ध बनिसकेका छन्, तर पनि त्यस क्षेत्रका बासिन्दा बाढीबाट सुरक्षित छैनन् । भनिन्छ, तटबन्ध गलामा बाँधिएको त्यस्तो सर्प हो जसले नटोक्दा पनि आतंक यथावत् रहन्छ । अरू केही नभए पनि जहिल्यै फुंकार त सहनैपर्छ ! दुई वर्षपहिला नै तटबन्ध भत्किएर सर्लाही र रौतहटवासीले ठूलो क्षति बेहोर्नुपरेको थियो ।


तटबन्ध बन्नुपूर्व यस क्षेत्रको सामाजिक–आर्थिक अवस्था कस्तो थियो ? समुदायको जीवनमा नदी कति समीपमा थियो ? नदी माथिको निर्भरता कति थियो ? तटबन्ध निर्माण भइसकेपछि वाग्मतीका बासिन्दाको जीवनमा कस्तो परिवर्तन आयो ? तटबन्ध भित्रका क्षेत्रमा बालुवा कति जमेको छ भनी अध्ययन भइरहेको छ ? तटबन्धको परिधिभित्र चञ्चला वाग्मती कत्तिको स्थिर धारामा बगिरहेको छ ? वाग्मतीमा बन्दै गरेका चार पुलको भविष्य कहाँ अड्किएको छ ? यी प्रश्नको अभिरेखांकनबाटै वर्तमानमा वाग्मतीको अर्थ–राजनीति पहिल्याउन सकिन्छ ।


तटबन्ध बनिसकेर पनि बाढीप्रभावित जनता सुस्केरा हाल्ने गर्छन्, ‘काहे रे नदिया तू बौरानी !’ यता तटबन्ध भत्किनु भनेको मूलतः भ्रष्टाचार, सरकारी अदूरदर्शिता र लापरबाहीको नतिजा हो । पटक–पटकको बाढीबाट बेवास्ता र लाचारीको उही गल्ती दोहोर्‍याउन अभ्यस्त राज्यसँग फेरि अर्को विपद्बाट पाठ सिक्ने सुविधा छैन । पछिल्लो चैत १७ गते आएको ‘बारा चक्रवात’ अहिलेका लागि ‘केस स्टडी’ हुन सक्थ्यो । स्थानीय तहमा उपलब्ध सूचनाको उचित विश्लेषण गरिनुपर्थ्यो, तर बाढी नियन्त्रणलाई लिएर खासै कुनै विमर्श देखिँदैन । ‘वाग्मती की सद्गती’ पुस्तकका भारतीय लेखक डा. दिनेशकुमार मिश्र भन्छन्, ‘तटबन्ध भत्कनु एउटा शाश्वत सत्य हो । बनेपछि भत्कन्छ अवश्य, तर सवाल के हो भने कहिले र कहाँ भत्कन्छ ? कहिलेकाहीं जनता स्वयंले पनि बाढीको कहरबाट जोगिन बाँध भत्काउँछन् ।’


कतिपय ठाउँमा पानीको प्रवाह रोक्ने भौतिक संरचना नै डुबानको मुख्य कारण बन्दै आएको छ । पानी बग्न नपाएर जमेको ठाउँमा सानै बाढी आउँदा पनि ठूलो क्षति हुने गर्छ । भूगोल र आवागमनको हिसाबले सुगम मानिने ठाउँमा कैयौं टापु जस्तो क्षेत्र बन्छन् । डेढ दशकमा ‘ज्यादती’ को तहमा पुगेको वन विनाश र ढुङ्गा, गिट्ट्री, बालुवा उत्खननले चुरे र भावरको पानी सोस्ने क्षमतामा ठूलो ह्रास आएकाले वर्षातको सबै पानी दक्षिणतिर बग्ने गरेको छ । वर्षौंको बाढी, डुबान, कटान र विस्थापनका कारण रौतहट–सर्लाहीको समथर भूभाग अझै ओभाइसकेको छैन । मानव विकास सूचकांकमा यी जिल्ला पछाडि पर्नुको मुख्य कारण यो पनि हो ।


पछिल्लो समयमा पालिकाहरूले आ–आफ्ना क्षेत्रका नदी भू–भागमा आफूखुसी उत्खनन गर्ने छुट दिएका छन् । नदीभित्र ठूलठूला खाल्डा बनेका छन् । बालुवा झिक्नुले नयाँ रोजगार र अर्थतन्त्र जन्माएको छ । माथिल्लो र तल्लो जलाधार क्षेत्र तथा वारिपारिका उपभोक्तामा अंकुरित किचलो स्थानविशेष अनुसार फरक छन् । जल विज्ञानका दृष्टिले वाग्मती जलाधार प्रणाली ज्यादै जटिल छ । भूमिगत र सतहको पानी, जोडिन आएका सहायक खोला तथा नदीको पानीले गर्दासमेत नदीको औसत अवस्थामा जलसतह मोटो हुँदैन । वाग्मती क्षेत्रको भूमिगत जल प्रणाली गंगा बेसिनको विशाल भूमिगत जल प्रणालीको एउटा अंगका रूपमा क्रियाशील छ । कुलेखानीको पानी कुनै समय वाग्मतीमा मिसिन्थ्यो । जलविद्युत् परियोजना आएपछि त्यो पूर्वी राप्तीमा छिर्‍यो । यो थाहा पाएका समथरका वाग्मतीका बासिन्दाहरू भन्छन्, ‘कुलेखानीको बिजुलीमा हाम्रो पनि हिस्सा छ ।’


वाग्मतीका बासिन्दाहरूले परम्पराका रूपमा जोगाइआएका खोला, पोखरी, इनार, सिमसार जस्ता पानीका स्रोतहरूको अस्तित्व फेरिएको छ । सहायक नदीहरूका किनारमा खडा उद्योग र खेतीमा बढ्दो विषादी प्रयोगको मात्राले पानी प्रदूषित भइरहेको छ । प्र्रदूषणको मात्रा बढेपछि विगतमा झैं साउन–भदौतिर माछाको बाढी ‘अवार’ आउन छोड्यो । काठमाडौंबाट बग्दै आएको प्रदूषित पानी प्राकृतिक रूपमा केकति प्रशोधित हुन पाउँछन् ? यसको कुनै लेखाजोखा छैन । तटबन्धले गर्दा त्यसभित्र निर्माण भएको सुक्खा जग्गाको उपयोग हुन सकेको छैन । नदीले स्थापित गरेको प्र्राकृतिक, सामाजिक र वातावरणीय सन्तुलन खलबलिएको छ । जल भण्डार र नदीजन्य पदार्थको अपुरणीय दोहन र स्र्रोतमाथिको अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएकाले अर्थतन्त्र र समाजको अवस्था डगमगाउन थालेको छ ।


विगतमा समुदायमा परम्परागत सिंचाइ प्रणाली थियो । सर्लाही र रौतहटको बृहत् सिंचाइका लागि वाग्मती सिंचाइ आयोजना ‘सेतो हात्ती’ भएको छ । नदीसँग टाढिँदै गएको समुदायलाई राज्यले पनि यो त ‘जीवन’ हो भनेर अर्थ्याउन सकेको छैन । उता भारतपट्टि तटबन्ध अग्लो गरिँदा त्यसको सीमाञ्चलमा के प्रभाव पर्छ ? ‘भारत रिसाउँछ कि ?’ भनेर यस क्षेत्रका राजनीतिकर्मीहरू बोल्दैनन् । काठमाडौंलाई झन् मतलब छैन । आफ्नो नदी र त्यससँग जोडिएको संस्कृतिबारे बेखबर राजनीतिकर्मीहरूको बाहुल्य भएका बेला नदी र बाढी दुइटै आर्जनका अवसर भएका छन् । जबकि जमिन, जनशक्ति र जलभण्डार यस क्षेत्रको समृद्धिको आधार हो । संघीय प्र्रणालीमा नदी स्रोतको बाँडफाँड, वितरण र स्वामित्वको पहुँचका लागि संवादमा भएको ढिलाइले द्वन्द्व चर्किने स्थिति छ ।
[email protected]

दृष्टिकोण

हातहातमा स्यानिटरी प्याड

- अम्बिका गैह्रे

हरेक महिला आफ्नो जीवनकालमा करिब ६.२५ वर्ष महिनावारीसँग जुध्ने गर्छन् । विश्व अभ्यासलाई हेर्दा एक महिलाले सरदर १५,००० वटा स्यानिटरी प्याड प्रयोग गर्ने तथ्यांक देखिन्छ । नेपालका सहरी महिलामा स्यानिटरी प्याड प्रयोगको आँकडा राम्रै हुनुपर्छ । बाहिर निस्कनु नपर्ने सहरी महिलाले भने घरायसी सामग्री नै प्रयोग गरेको पाइन्छ । गाउँघरमा प्याड प्रयोग गर्ने चलन त्यति छैन, जानकारी भए पनि प्याड किन्ने खर्च जुटाउन गाह्रो छ । जीवन धान्न दुई छाक जोहो गर्न धौधौ पर्ने हाम्रा धुलाम्मे जीवनहरूमा महिनावारीको रगतको के कुरा ! धूलोसँगै मिल्छ । उनीहरूका लागि महिनावारी स्वास्थ्य र सुरक्षा प्राथमिकतामा पर्दैपर्दैन । आर्थिक रूपमा समस्या नहुनेहरूले पनि परम्परागत कपडाले हुने ठाउँमा प्याड फजुल खर्च जस्तो बनिदिन्छ । प्याडमा खर्च गर्ने पैसाले छोराछोरी वा परिवारका अन्य आवश्यकता पूरा हुन्छन् । तर गम्भीर रोग निम्तिनुमा महिनावारीमा प्रयोग गरेकै फोहोर र घाममा नसुकाइएको कपडाको असर पनि हुन सक्छ भनी तिनलाई हेक्कै हुँदैन ।


महिनावारीका कारण धेरै छात्राले विद्यालय छाड्नुपरेको समस्यालाई ख्याल गर्दै सरकारले सबै विद्यालयमा निःशुल्क स्यानिटरी प्याड कार्यक्रम अगाडि सारेको छ । तर नेपालमा उपलब्ध, आयातित वा स्वदेशी उत्पादन, स्यानिटरी प्याड कति सुरक्षित होलान् ? जवाफ कसैसँग छैन । नेपालमा पाइने स्यानिटरी प्याडको गुणस्तर कस्तो छ ? सुरक्षित महिनावारीको कल्पनामा एउटी छात्राले मक्ख पर्दै प्रयोग गर्ने प्याडले उसको स्वास्थ्य थप जटिल बनाउँदैन भनेर ढुक्क हुने अवस्था छ त ? अबको बहस स्यानिटरी प्याडको गुणस्तर तथा प्रयोग गरी फालिएका प्याडले वातावरणमा पार्ने असरतिर मोडिनु अत्यावश्यक छ ।


नेपालमा भारतसहित चीन, जापान, सिंगापुर लगायतबाट प्याडको आयात हुन्छ । स्वदेशी उत्पादन पनि उल्लेख्य छ । नेपालमा प्याड उत्पादन गर्न आवश्यक कच्चा पदार्थमा भन्दा तयारी प्याडमा भन्सार थोरै हुँदा नेपाली उत्पादनले भारतीयसँग प्रतिस्पर्धा गर्न नसकेको व्यवसायीको गुनासो छ । तर प्याडमा प्रचारमा देखाइए जस्तो नभएर कटनबाहेक सिन्थेटिक फाइबर, नाइलन, प्लास्टिक, सेलुलोज जेल राखिएका हुन्छन् । यी सेतो नहुने हँदा सेतो पार्न गरिने ब्लिचिङका क्रममा निस्कने डाइअक्जिन तथा सोस्ने क्षमता बढाउन प्रयोग गरिने जेलले महिलाको पाठेघरको मुखमा क्यान्सर तथा बाँझोपन ल्याउन सक्छन् । अचेल महिलाहरूमा पाठेघर सम्बन्धी क्यान्सरको समस्या निकै बढ्दो छ । यसको एउटा कारण असुरक्षित स्यानिटरी प्याडको प्रयोग पनि हो । प्लास्टिसाइजिङ रसायनहरूले मुटुरोग र क्यान्सर तथा भ्रूण नष्ट गर्ने समस्या निम्त्याउन सक्छन्, मधुमेह र थाइराइड समेत हुनसक्छ । दुर्गन्ध हटाउन तथा बास्नादार बनाउन प्रयोग हुने रसायनहरू स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन्, रसायनले गर्भ नै नरहने समस्या उब्जाउँछ । समय–समयमा प्याड परिवर्तन नगर्ने तथा ६ घण्टाभन्दा बढी एउटै प्याड प्रयोग गरेमा ब्याक्टेरियाको संक्रमण हुन सक्छ । फोहोर संकलन गर्ने र छुट्याउने कर्मचारीको स्वास्थ्यमा पनि असर पर्न सक्छ । विशेष किसिमको मेसिनले बाहेक सामान्य तरिकाले जलाउन नसकिने, पानीको स्रोतमा पुगे पानी बन्द गर्ने, ढलनिकास बन्द गर्ने तथा माटामा ५०० देखि ८०० वर्षसम्म पनि नकुहिने हुँदा प्याडले जमिन प्रदूषण गर्छ ।


नेपालमा लगभग ९० प्रतिशत प्याडको मागलाई आयातले धानेको छ । आयात गर्दा महिलाको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता प्याडको गुणस्तर हेरिँदैन । स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल असर र संवेदनशीलतालाई गौण रूपमा नलिई अरू सामानसरह आयात गर्ने प्रचलन छ । स्वदेशी उत्पादनमा पनि अन्य उद्योगसरह दर्ता गरिदिँदा काम सकिन्छ । स्वदेशी उद्योगलाई त झन् टेलिभिजनका विज्ञापनका आधारमा चर्चा कमाएका विदेशी कथित ब्रान्डले उँभो लाग्न दिएका छैनन् । त्यो कथित ब्रान्डभित्रको सामानको गुणस्तर भने कसैलाई थाहा हुँदैन । नेपालमा स्यानिटरी प्याडको गुणस्तर के हुनुपर्ने र कसरी हेर्ने भन्ने राष्ट्रिय मापदण्ड छैन । प्याडको गुणस्तरमा ध्यान नदिई रगत सोस्ने हिसाबले मात्रै लिइँदा स्वास्थ्यका दृष्टिले परम्परागत कपडाभन्दा केही फरक नहोला, तर खर्च भने बढाउँछ ।


अहिले संसारभर स्यानिटरी प्याडबाट महिलाको स्वास्थ्मा हुन सक्ने तथा वातावरणमा पार्न सक्ने असर न्यूनीकरणबारे अध्ययन–अनुसन्धान र नयाँ प्रविधिको विकास भइरहेको छ । विकल्प खोजिन थालेका छन् । नेपालमा पनि प्याडको सट्टा मेन्सुरल कपको प्रविधि भित्रिइसकेको छ । तर पनि नेपाली महिलाहरूमा प्याडकै पहुँच छैन । प्याड सस्तो, गुणस्तरीय र सर्वसुलभ हुनु जरुरी छ ।नेपालमा व्यक्तिगत प्रयोगबाहेक स्यानिटरी प्याडको ठूलो बजार हस्पिटल सप्लाईको छ । कसरी सस्तोमा सप्लाइ गर्ने भन्ने होडबाजीले गर्दा गुणस्तर गौण बनेको छ । कुनै पनि सामग्रीको बजार सस्तो हुनु राम्रो हो, तर गुणस्तरसँग सम्झौता गर्नु पक्कै राम्रो होइन ।हाम्रा गाउँ–गाउँमा कपडाबाट पुनः प्रयोग गर्न सकिने प्याड उत्पादन गर्ने तालिम धमाधम सञ्चालन भइरहेका छन् । प्याड घरमै बनाउँदा सहज र सस्तो पर्ने हुँदा सबैको पहुँचमा पुर्‍याउन सकिन्छ र यो वातावरणीय दृष्टिले केही सुरक्षित पनि छ । प्रयोग गरिने कपडाको गुणस्तर तथा प्रयोगमा सरसफाइको अवस्थामा भने विशेष ध्यान पुर्‍याइनुपर्छ । नेपालमा वातावरणमैत्री जैविक प्याडको उत्पादन पनि छ । प्रयोगकर्तालाई त्यस्तो प्याडबारे थाहा छैन । सामान राम्रो र नराम्रो छुट्याउने त्यसको गुणस्तरले हो । हाम्रा प्रयोगकर्तालाई गुणस्तरका आधारमा छनोटको सुविधा छैन, किनकि यसबारे कहीँ कसैको ध्यान पुग्नसकेको छैन । तसर्थ सरकारले नै गुणस्तर संस्कृतिलाई गम्भीरताका साथ लिनुपर्छ । गुणस्तर मापदण्ड र नियमनकारी निकाय तोकी गुणस्तर परीक्षणपछि मात्र आयात गर्नुपर्छ । स्वदेशी उत्पादनको हकमा पनि परीक्षणको व्यवस्था गरी स्यानिटरी प्याडको प्रयोगबाट महिलाको स्वास्थ्य र सुरक्षामा पर्न जाने असर घटाउन तुरुन्त पहल गरिनुपर्छ ।


लेखक नेपाल गुणस्तर तथा नापतौल विभागकी केमिस्ट हुन् ।

Page 8
समाचार

त्रिवि हिलाम्य

१४ करोड लागतमा निर्मित उपकुलपति कार्यालय भवन हतारहतार उद्घाटन गर्दा समारोह अशोभनीय देखिएको भन्दै टीकाटिप्पणी भइरहेको छ ।
- सुदीप कैनी
हिलाम्य बाटामा राखिएको ॅरेड कार्पेट’ हुँदै समारोहमा जाँदै त्रिवि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत । प्रधानमन्त्रीले नवनिर्मित उपकुलपति कार्यालय भवन र मन्दिरको उद्घाटन गरेका छन् । तस्बिर ः इलिट जोशी/कान्तिपुर

 

(काठमाडौं) - त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिकोत्सव समारोहमा बुधबार नयाँ भवन उद्घाटन कार्यक्रम राखियो । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका पाहुना उद्घाटनका लागि भवनसम्म पुग्ने बाटो भने हिलाम्मे थियो । सुरक्षाकर्मी र त्रिवि पदाधिकारीले पाहुनालाई हिलोबाट जोगाउन कार्पेट बिछ्याउने उपाय जुराए । विश्वविद्यालयमै रहेको पुरानो रातो कार्पेट झिकेर बिछ्याइयो । प्रधानमन्त्रीसहितका पाहुना हिलाम्मे ‘रेड कार्पेट’ माथि हिँडेर उपकुलपतिको कार्यालय भवन उद्घाटन गर्न गएको तस्बिर सामाजिक सञ्जाल र सञ्चार माध्यममा छताछुल्ल भयो । यसले त्रिविको भद्रगोल स्थितिलाई समेत प्रतिविम्बित गर्थ्यो ।


मुलुककै जेठो विश्वविद्यालयको भौतिक पूर्वाधारका विषयमा केही दिनअघि नेकपाका नेता एवं सांसद भीम रावलले प्रतिनिधिसभामा प्रश्न उठाएका थिए । ‘ज्ञानको केन्द्र त्रिविको शैक्षिक परिपाटी देख्दा दुःख लाग्छ, जताततै झार उम्रेको छ,’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलको समेत ध्यानार्कषण गराउँदै उनले भनेका थिए, ‘विभागहरूका सिलिङहरू भत्केर पानी चुहिने अवस्थामा छन्, हिँड्ने बाटो छैन ।’ सांसदले ध्यानाकर्षण गराएका तिनै मन्त्री पोखरेलले विश्वविद्यालय पुग्दा बुधबार हिलोको सास्ती खेप्नुपर्‍यो । त्रिविकै प्राध्यापकहरूले महिना दिनअघि कीर्तिपुरस्थित क्याम्पसका कक्षाकोठामा गाईबस्तुको भकारो सोहर्नुपरेको गुनासो गरेका थिए । ‘विदेशी कुनै विद्वान् त्यहाँ पढ्न आए भने गाईबस्तु बाँध्ने हो कि पढ्ने ठाउँ हो भन्ने अनुभूति गर्छन्, विश्वविद्यालय कुन निकायले सुधार गर्नुपर्ने हो ?’ सांसद रावलले संसद्मा भनेका थिए, ‘ऐनकानुन कुन प्रक्रियाबाट सुधार गर्नुपर्ने हो, ध्यान दिनु अत्यावश्यक छ ।’ १४ करोड लागतमा निर्मित भवन हतारहतार बुधबार उद्घाटन गर्दा समारोह अशोभनीय देखिएको भन्दै टीकाटिप्पणी भइरहेको छ । अघिल्लो दिनसम्म आँगन समथर पार्न डोजर लगाउने काम भइरहेको थियो । भित्री काम सकिए पनि बाहिर फिनिसिङ पूरा नहुँदै वर्षातका बेला उद्घाटनको कार्यक्रम राख्दा हिलाले प्रभावित गरेको त्रिविका कर्मचारीहरू बताउँछन् । हाल उपकुलपति कार्यालय रहेको भवन भूकम्पले क्षति गरेका कारण त्रिविको मुख्य प्रवेशद्वार र रेक्टर कार्यालय नजिकै भवन ठड्याइएको हो । त्रिविको भवन र शिलापत्र उद्घाटनपछि प्रधानमन्त्री ओली वार्षिकोत्सव र वार्षिक सभा बैठकमा सहभागी भएका थिए ।


व्यवस्थापन संकायमा बढी उत्तीर्ण
वार्षिक सभा बैठकले त्रिविको ५७ औं ग्रेस लिस्ट पारित गरेको छ । जसअनुसार ५ अध्ययन संस्थान र ४ संकायबाट यस वर्ष ७० हजार ७७ विद्यार्थी उत्तीर्ण भएका छन् । सबैभन्दा बढी व्यवस्थापन संकायबाट २२ हजार ७ सय ९८ विद्यार्थी उत्तीर्ण भए । शिक्षा संकायका २० हजार विद्यार्थी पास भए । सबैभन्दा थोरै विज्ञान प्रविधि संकायबाट २ सय ६४ विद्यार्थी उत्तीर्ण भएका छन् । कुलपति एवं प्रधानमन्त्री ओलीले ग्रेस लिस्ट पारित गरेका हुन् । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि पूरा गरेका विद्यार्थीको ग्रेस लिस्ट पारित गर्ने गरिन्छ । गत वर्ष ७३ हजार ९ सय जना उत्तीर्ण भएका थिए ।


कुलपति एवं प्रधानमन्त्री ओलीले मुलुकको आवश्यकताअनुसार प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । सहकुलपति तथा शिक्षामन्त्री पोखरेलले कमीकमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने औंल्याए । उपकुपति तीर्थराज खनियाँले विश्वभरका विश्वविद्यालयहरूको उत्कृष्टताको सूचीमा त्रिवि एक हजार र एसियामा तीन सयभित्र पर्न सफल भएको स्मरण गरे ।

समाचार

एप्सबाटै ट्याक्सी

- सीमा तामाङ

(काठमाडौं) - ट्याक्सी व्यवसायीले मोबाइल एप्समार्फत यात्रुलाई सेवा दिने तयारी थालेका छन् । यसका लागि उपत्यका ट्याक्सी व्यवसाय तथा चालक सेवा समाजले ‘इजी ट्याक्सी नेपाल’ नामको एप्स विकास गरेको छ ।
अहिले परीक्षणमा रहेको एप्समार्फत युरोप, अमेरिकामा प्रचलित उबर सेवामा झैं अनलाइनबाटै ट्याक्सी बोलाउन सकिने बताइएको छ ।


करिब ५ हजार स्वरोजगार ट्याक्सी चालक रहेको समाजको उक्त मोबाइल एप्समा पहिलो चरणमा ३ हजार ५ सयभन्दा बढी ट्याक्सी आबद्ध भइसकेका छन् । अन्य ट्याक्सी तथा चालक बिस्तारै जोडिँदै जाने समाजका अध्यक्ष सानु पुर्वाछाने मगरले बताए । ‘एप्समार्फत यात्रुले दिउँसो र राति दुवै समयमा सेवा प्राप्त गर्न सक्नेछन्,’ उनले भने, ‘एप्समा आबद्ध चालकको ५ लाख रुपैयाँको दुर्घटना बिमा गरिनेछ ।’ एप्समार्फत सेवा लिने यात्रुले वेबसाइट वा एप्समार्फत केवाईसी फर्म भरे ५ लाख रुपैयाँको दुर्घटना बिमा गरिने बताइएको छ ।


अन्य देशले सञ्चालन गरिसकेको एप्स नेपालमा पहिलो पटक सञ्चालनमा ल्याउन लागिएको हो । सरकारले
तोकेकै भाडादर कायम गरिएको अध्यक्ष मगरले बताए ।उपत्यकामा मात्र सञ्चालन गरिने यो सेवा लिन यात्रुहरूले उक्त एप्स डाउनलोड गरी दर्ता गर्नुपर्नेछ । यसका लागि कस्टमर ‘लग इन’मा थिचेर आफ्नो नाम र नम्बर लेख्नुपर्ने हुन्छ । यात्रुले ‘लग इन’ गरेपछि त्यसमा देखिने ‘रियल टाइम म्याप’मा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनोट गर्नुपर्ने सफ्टवेयर कम्पनी इजी एस्युरेन्सका प्रबन्धक सन्जित पौडेलले बताए ।


यात्रुले एप्समा गरेको अनुरोधका आधारमा नजिकै रहेका ट्याक्सी चालकले त्यसलाई स्वीकार गर्नेछन् । उनीहरूले उल्लिखित यात्रुको मोबाइल नम्बरमा फोन गरी सेवा दिनेछन् । यात्रुले अहिले नगदमै र पछि डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने पौडेलले बताए । एन्ड्रोइडको प्लेस्टोरबाट डाउनलोड गरेर सेवा लिन सकिने यो एप्स चाँडै आइफोनको एप स्टोरबाट पनि डाउनलोड गर्न सकिनेछ । यात्रु ठगिने र भाडामा भएका बेथिति हटाउन समाजले एप्स सञ्चालनको तयारी गरेको पौडेलको भनाइ छ । ‘एप्समार्फत यात्रु ठगिने कार्य न्यून हुन्छ,’ उनले भने, ‘डिजिटल भन्नेबित्तिकै महँगो भनिन्छ तर एप्स सरकारी दरमै कायम छ ।’


एप्सबाट गरिएको अनुरोधपछि ट्याक्सीले ५ मिनेटभित्र यात्रु भएकै स्थानमा पुगेर सेवा दिने उनले बताए । उनका अनुसार ट्याक्सी चालकलाई ५ लाखको दुर्घटना बिमा, परिचयपत्र, ड्रेस दिने व्यवस्था गरिएको छ ।

Page 9
समाचार

ओमानमा घट्दै नेपाली कामदार

सात वर्षअघि ४५ हजार नेपाली कामदार रहेकामा अहिले करिब २० हजार मात्रै छन् ।
- होम कार्की
ओमानमा रहेका नेपाली कामदार । तस्बिर ः कान्तिपुर

(मस्कट, ओमान) - स्याङ्जाका ५३ वर्षीय प्रेम भट्टराईले आफ्नो भरभराउँदो उमेर ओमानलाई नै दिए । तीन दशकदेखि ओमानमा कार्यरत उनी अझै स्वदेश फिरिहाल्न तयार छैनन् । अर्धसरकारी अलमुज्लिस फुड कम्पनीमा कार्यरत उनी भन्छन्, ‘ओमान मेरा लागि दोस्रो घरजस्तै भइसक्यो । यहींबाट मैले छोराछोरीलाई आफ्ना खुट्टामा टेक्न सक्ने बनाएँ । मेरो शरीरले पसिना बगाउन नसकेको दिन मात्र घर फर्कन्छु ।’


भट्टराई ओमान आउनुअघि भारतमा काम गर्थे । आफ्नो साहुसँगै उनी ओमान छिरे । ‘त्यस समयमा सबै भारतीय कम्पनीको पछाडि लागेर आउँथे । अधिकांश घरेलु कामदार बन्थे,’ उनले भने, ‘म्यानपावर कम्पनी थिएन ।’ भट्टराई सन् ९० को दशकमा ओमान आउँदा नेपालीलाई शिला जसरी खोज्नुपर्थ्यो । गल्फटार कम्पनीले एकैपटक सयभन्दा बढी नेपाली कामदार ल्याएको थियो । गल्फटारमा आएकाले तोकिएको समयभन्दा पहिला नै काम सम्पन्न गरिदिएपछि नेपाली कामदारको इमान्दारिता र मिहिनेतको बखान हुन थालेको भट्टराई बताउँछन् । त्यसपछि अरू कम्पनीको रोजाइ नेपाली हुन थाल्यो । कार्यक्षेत्र बिस्तार भयो । ‘होटल, रेस्टुरेन्ट, कन्स्ट्रक्सन क्षेत्रमा नेपाली देखिन थाले,’ उनले भने, ‘पछि इन्जिनियर नै आउन थाले । अहिले क्याम्पस पढाउनेहरू नै छन् ।’


भारतीय, बंगलादेशी, पाकिस्तानीको दबदबा रहेको ओमानमा प्राथमिकता थाले पनि औपचारिकभन्दा घरेलु कामदारकै रूपमा नेपाली आउनेक्रम बढ्यो । लालु हाइपरमार्केटमा १० वर्षदेखि व्यापार गर्दै आएका जोरपाटी, काठमाडौंका बालकृष्ण परियारका अनुसार ओमानले नेपालीलाई प्राथमिकता दिइरहे पनि श्रम बजारमा नेपालीको संख्या निकै कम छ ।


अरू देशका बढे, नेपाली घटे
ओमानमा कुल जनसंख्याको ४४ प्रतिशत विदेशी कामदार छन् । ओमानमा १८ लाख १९ हजार विदेशी कामदार छन् । प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतीय कामदार ७ लाख २६ हजार, बंगालदेशी ६ लाख, पाकिस्तानी २ लाख रहेका छन् । बाँकी अरू देशका नागरिक छन् । नेपाली दूतावासका अनुसार २० हजार नेपाली छन् । त्यसको झन्डै ८० प्रतिशत घरेलु कामदार छन् । अरू देशका कामदार बढदै छन्, नेपाली घटदै छन् । सन् २०१२ अघिसम्म नेपालीको संख्या ४५ हजार पुगिसकेको थियो । अधिकांश हाइपरमार्केट, निर्माण कम्पनी, बजार व्यवस्थापन र होटल क्षेत्र र सरकारी निकायका सहयोगी कामदारका रूपमा ल्याइएका थिए । सेप्टेम्बर २०१३ मा नेपाली दूतावास स्थापना भएपछि कामदार आपूर्तिमा झन् सहज भएर नेपालीको संख्या बढ्ने अपेक्षा गरिएको थियो । ‘कूटनीतिक बिस्तारले नेपालीलाई थप राम्रा अवसर जुर्नेछन् भन्ने ठानेका थियौं,’ १२ वर्षदेखि ओमानमा कार्यरत पालुङ, मकवानपुरका राम तामाङले भने, ‘तर सोचिएजस्तो नेपाली बढेनन् ।’ कतारस्थित नेपाली दूतावासमा बढेको मागपत्रको चापलाई धान्न नसकेपछि मन्त्रिपरिषद्ले सन् २०१२ अक्टोबरदेखि लागू हुने गरी व्यक्तिगत श्रमस्वीकृतिलाई हाडनातामा कायम गरिदियो । अर्थात् विदेशमा रहेको व्यक्तिको परिवारका सदस्य मात्र व्यक्तिगत रूपमा जान पाउने भए । चिनजानकाले आफू काम गर्ने कम्पनीबाट मिलाइदिएको भिसाबाट जान नपाइने भयो । ‘ओमानमा अवसर गुम्नुको प्रमुख कारण यही हो,’ एनआरएनए ओमानका पूर्वअध्यक्ष दीपक श्रेष्ठले भने, ‘म्यानपावर कम्पनीले मार्केटिङ गरेर कामदार आपूर्ति गर्न सकेनन् । यहाँ काम गर्नेले साथीभाइलाई चाहेर पनि अवसर दिलाउन पाएनन् ।’


श्रम मन्त्रालयले संस्थागत (म्यानपावर कम्पनीबाट) वैदेशिक रोजगारीमा पठाउने नीतिलाई प्रवर्द्धन गर्‍यो । वैदेशिक रोजगार विभागले ‘ठगी भए म्यानपावर कम्पनीलाई समात्न सकिन्छ, क्षतिपूर्ति दिलाउन सकिन्छ, अलपत्र परे उद्धार गर्न सकिन्छ’ भन्दै म्यानपावर कम्पनीबाहेकबाट जान नपाउने नीति लियो । जुन नीति कतारमा बढदो ठगीमा आधारित भएर लिइएको थियो । संस्थागत/व्यक्तिगत जुन तवरबाट गए पनि स्पोन्सर एउटै हुन्छ । ‘बोलाउने साथीभाइ स्पोन्सर होइनन् । उनीहरू दूतावाससम्म कागजात बोकेर गइदिने वाहक मात्रै हुन्’, नेपाली समाज ओमानका अध्यक्ष लीलानाथ कोइरालाले भने, ‘मन्त्रालयको बुझाइ गलत भइदियो । त्यसरी आउनेसँग अझ सक्कली करारपत्र हुन्छ भन्ने बिर्सिदियो ।’ नेपाल र ओमानका म्यानपावर कम्पनीहरूबीच अन्यत्रको जस्तो दरिलो सम्बन्ध देखिएको छैन । ‘व्यक्तिगत रूपमा आउने स्थितिमा नेपाल सरकारले खाडीका अरू देशलाई भन्दा ओमानलाई फरक हिसाबले हेर्न जरुरी छ,’ परियारले भने । ओमान सरकारको नीति पनि आफ्ना नागरिकलाई रोजगार दिने भन्ने छ । ओमानी बेरोजगारी धेरै छन् । उनीहरूले गर्न नसक्ने क्षेत्रमा मात्रै विदेशी कामदारले मौका पाउँछन् । सार्वजनिक यातायातका चालकदेखि सेवामूलक क्षेत्रमा अनिवार्य ओमानी हुन्छन् । पछिल्लो समय व्यवस्थापन तहमा अनिवार्य ओमानी राख्नुपर्ने भएको छ । ‘यसले नेपालीलाई त्यति असर पर्ने देख्दिनँ,’ श्रेष्ठले भने, ‘असर नपर्ने क्षेत्रमै हाम्रो उपस्थिति न्यून छ ।’


ओमानको निर्माण क्षेत्रभन्दा बढी होटल क्षेत्रमा कामदारको माग धेरै छ । ‘होटल रेस्टुरेन्टले एकै पटक धेरै कामदार आपूर्ति गर्दैनन् । व्यक्तिगत पहुँचका आधारमा कम्पनीले भिसा मिलाउँछन् । यस्ता भिसामा आउने कामदार रोकियो,’ तामाङले भने ।


'सम्झौतापछि ढोका खुल्छ'
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले श्रम सम्झौतापछि नेपालीका लागि अवसरको ढोका खुल्ने आशा राखेकी छन् । गत वैशाख २० गते नेपाल र ओमानबीच श्रम समझदारीको मस्यौदामा सहमति भइसकेको छ । दुई देशबीच सरकारले यसलाई पारित गर्ना साथ हस्ताक्षर हुनेछ । नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले ब्यहोर्ने, कार्यस्थलको सुरक्षा, न्यायमा सहज पहुचलगायत विषयमा सहमति जुटेको हो । ओमानमा कार्यरत गैरआवासीय नेपाली संघ, आईसीसीका सचिव डीबी क्षेत्रीले नेपाली दक्ष कामदारको माग राम्रो रहेको बताए । उनले भने, ‘श्रम सम्झौतापछि कामदार आपूर्ति प्रक्रियालाई एकदमै सरल बनाइदिनुपर्छ । अनलाइनबाटै आवेदन दिन सक्ने, प्रमाणीकरण गर्ने व्यवस्था गर्नुपर्छ ।’ ओमानमा रोजगारदाता र कामदारबीच पारिश्रमिकमा सहमति हुन्छ । नेपाल सरकारले भने न्यूनतम तलब खानासहित एक सय २० रियाल (३१ हजार ८ सय रुपैयाँ) तोकेको छ । तल्लो तहमा कार्यरत कामदारले भने यो तलब पाउन सकेका छैनन् ।

समाचार

निगमलाई युनियनको अल्टिमेटम

- कान्तिपुर संवाददाता

(काठमाडौं) - नेपाल वायुसेवा निगममातहतको आधिकारिक ट्रेड युनियनले दुइटा वाइडबडीसहित चारवटा जेट विमानको किस्ता बुझाउन ढिलाइको कारण माग्दै कार्यकारी अध्यक्ष मदन खरेललाई २१ दिने अल्टिमेटम दिएको छ । युनियनले यससम्बन्धी सबै आर्थिक विवरण सार्वजनिक गर्नसमेत माग गरेको छ ।


निगमले दुइटा न्यारोबडी तथा दुइटा वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ३२ अर्ब ऋण लिएको थियो । यी जहाजको वार्षिक ४ अर्ब ५२ करोड किस्ता तिर्नुपर्छ । पुसयता निगमले यी दुवै निकायलाई किस्ताबापत २ अर्ब ९६ करोड बुझाउन बाँकी छ ।


सबै कर्मचारीलाई सत्यतथ्य विवरण जानकारी गराउनुपर्ने जनाउँदै युनियनले ज्ञापनमा भनेको छ, ‘हालसम्म जहाजका किस्ता सहज तरिकाले तिर्ने वातावरण मिलाउन नसकेको साथै तिर्न नसक्नुको सत्यतथ्य जानकारी गराउनु ।’ यसैबीच युनियनले अर्थ विभाग सम्हालिरहेका कामु निर्देशक युवराज अधिकारीलाई तत्काल हटाउन माग राखेको छ । कार्यकारी अध्यक्ष खरेलले निगममा नियुक्त भएलगत्तै असोज ९ गते चार्टर एकाउन्टेन्ट तथा निमित्त निर्देशक उमेश पौडेललाई अर्थ विभागबाट आफ्नो कार्यालयमा सारेर साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागमा कामु निर्देशक रहेका अधिकारीलाई अर्थको जिम्मेवारी दिएका थिए । यो सरुवामा ट्रेड युनियनले आपत्ति जनाएको छ । ‘विदेशमा रहेको स्टेसनमा लेखाको कर्मचारी पठाउँदा निगमको नियमले लेखामा स्नातक भनी किटान गरेको छ,’ ट्रेड युनियनका एक कर्मचारी नेताले भने, ‘तर अर्थ विभागको नेतृत्व सम्हाल्नेलाई लेखासम्बन्धी ज्ञान तथा योग्यता हुन नपर्ने ?’ ट्रेड युनियनले यो विषयसहितको ज्ञापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि बुझाएको छ ।


यसैबीच ट्रेड युनियनले निगमलाई निजीकरण नगर्न माग गरेको छ । ‘कम्पनीकरणको विषय निगमलाई धराशायी र कमजोर बनाउने अभिप्रायमा केन्द्रित रहेकाले निगमको व्यवस्थापन सुधारमार्फत सरकारी संस्थानकै रूपमा सुदृढ तथा विस्तारमा जोड दिनुपर्छर्,’ ज्ञापनमा उल्लेख छ । सरकारले गत वर्ष निगमलाई निजीकरण गर्ने योजना सार्वजनिक गरेको थियो ।


निगमका आवश्यकताभन्दा धेरै विभाग भएकाले सांगठनिक पुनःसंरचना गर्नुपर्ने, विदेशस्थित कार्यालयमा जाने कर्मचारीका लागि आईईएलटीएस (इन्टरनेसनल इंग्लिस ल्यांग्वेज टेस्टिङ सिस्टम) उत्तीर्ण गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने, निगमको कार्यकारी तहमा रहेका निर्देशक, उपनिर्देशकलगायत बाहय र आन्तरिक स्टेसनका प्रमुखलाई समयसीमासहितको लक्ष्य दिनुपर्नेलगायत माग ज्ञापनमा राखिएका छन् । युनियनका संयोजक सुवास डाँगीले हस्ताक्षर गरेको ज्ञापनपत्र कार्यकारी अध्यक्ष, सञ्चालक समितिसहित ६ वटा सरोकारवाला निकायलाई पठाइएको छ ।


युनियनले उठाएका विषय सम्बोधन गर्न कार्यकारी अध्यक्ष खरेलले निगमका नायब प्रबन्ध निर्देशक गणेशबहादुर चन्दको नेतृत्वमा वार्ता कमिटी गठन गरेका छन् ।

Page 10
विदेश

नागरिकको सुरक्षा ड्रोनबाट

- कान्तिपुर संवाददाता

अस्ट्रेलिया (कास)– ठुल्ठूला कार्यक्रम हुने क्षेत्रमा सर्वसाधारणको सुरक्षाका लागि अस्ट्रेलियाको भिक्टोरियामा प्रहरी ड्रोनको प्रयोग गरिने भएको छ । चौबिसै घण्टा अनुगमन गर्न योग्य र सबै सुविधा जडित ड्रोनको प्रयोग आगामी महिनादेखि सुरु हुने भएको छ । सर्वसाधारणलाई सुरक्षा दिने मुख्य उद्देश्यका साथ प्रहरीको ‘ड्रोन युनिट’ को सुरुवात गरिने भएको हो । भिक्टोरियाको राज्य सरकारद्वारा सुरु गरिएको ड्रोन आतंकवादी क्रियाकलापविरुद्ध लड्नसमेत मद्दत पुग्नेछ । ड्रोनले हरेक दिन चौबिसै घण्टा सुरक्षा दिने र यसमा उच्च प्रविधिको प्रयोग गरिएको तथा राति खिच्न मिल्ने क्यामेरासमेत जडान गरिएको छ । सुरुवाती चरणमा करिब ५० वटासम्म ड्रोन सुरक्षाका लागि प्रयोग गरिने र यो विशेष क्षेत्र तथा दुर्गममा समेत प्रयोगमा ल्याइने सञ्चारमाध्यमले जनाएका छन् ।


भिक्टोरिया राज्यकी निमित्त प्रिमियर तथा प्रहरी मन्त्री लिसा नेभिलले यी ड्रोनहरूलाई चाँडै कार्यक्षेत्रमा पठाउन मिल्ने र प्रहरीलाई सहयोग पुग्ने बताएकी छन् । ‘प्रहरी हरेक दिन आफ्नो जीवन खतरामा राखेर सुरक्षा दिइरहेको हुन्छन्, त्यसैले उनीहरूलाई आवश्यक स्रोत दिँदा हामीलाई सुरक्षित राख्न अझ थप मद्दत पुग्छ ।’ भिक्टोरियाका प्रहरी इन्स्पेक्टर क्रेग सेफर्डले ड्रोनका माध्यमबाट प्रहरीलाई आपत्कालीन अवस्थामा सहयोग पुर्‍याउन सहज हुने र तत्काल आवश्यक भएको अवस्थामा प्राथमिक उपचार, पानीलगायतका वस्तु वितरणमा समेत सरलता हुने बताएका छन् । प्रहरी संगठनअन्तर्गत रहने यी ड्रोनको व्यवस्थापन हवाई विभागले गर्ने छ ।


अस्ट्रेलियाको क्युन्सल्यान्ड र न्यु साउथ वेल्समा यसअघि नै प्रहरीले ड्रोनमार्फत खतराजन्य अवस्थाको अवलोकन गर्ने, उद्धार लगायतका कार्यमा प्रयोग गर्दै आएका छन् । अस्ट्रेलिया प्रहरीले आफ्नो सुरक्षा निकायलाई अझ चुस्त बनाउन अत्याधुनिक प्रविधियुक्त बनाइरहेको छ । अगस्टको अन्त्यदेखि सुरु हुने र विशेष गरेर सुरक्षाका हिसाबले संवेदनशील र ठूला कार्यक्रम हुने क्षेत्रको अनुगमन गर्ने ड्रोन ७० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने जनाइएको छ ।

विदेश

जथाभावी गाडी चलाउनेलाई मृत्युदण्ड

- कान्तिपुर संवाददाता

सेनयाङ (सिन्ह्वा)– चीनमा जथाभावी गाडी चलाएर ६ बालबालिकाको हत्या गर्नेलाई एक प्रान्तीय अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । चीनको लाओनिङ प्रान्तको अदालतले हान जिहुवालाई मृत्युदण्ड सुनाएको हो । उनी आफू चढेको सेडान कार ६० जना बालबालिकाको भीडमा दौडाएका थिए । उक्त घटनामा दुई शिक्षकसहित ६० जना घाइते भएका थिए । घटनालगतै हानलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतले आदेशमा हानले जानाजान बालबालिका रहेको क्षेत्रका सेडान दौडाएको र अपराधको प्रकृति तथा सामाजिक असरका आधारमा फैसला सुनाएको अदालतले जनाएको छ ।

विदेश

आदिवासीबीच झडप

- एएफपी

पोर्ट मर्सबी – पपुवा न्युगिनीमा आदिवासी समुदायबीच भड्किएको हिंसामा कम्तीमा २४ जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएको अधिकारीहरूले बताएका छन् । हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसको मृत्यु भएपछि प्रधानमन्त्री जेम्स मारापेले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । पपुवा न्युगिनीको पश्चिमी क्षेत्रस्थित हेला प्रान्तमा आदिवासी समुदायबीच तीन दिनयता झडप भइरहेको प्रहरीले जनाएको छ ।

विदेश

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीमाथि शोषण

- नारायण खड्का

(अस्ट्रेलिया) - अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई घरधनीहरूले शोषण गर्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ । यहाँ रहेको ‘युनिभर्सिटी अफ न्यु साउथ वेल्स (यूएनएसडब्लू)’ ले हालै सार्वजनिक गरेको रिपोर्ट ‘नो प्लेस लाइक होम’ मा सिड्नीमा रहेका कैयौं अन्तर्राष्ट्रिय विद्यार्थी शोषणको मारमा परेको उल्लेख छ ।


उक्त विश्वविद्यालयको मानवअधिकार क्लिनिकले गरेको अनुसन्धानमा ठूलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सस्तो, कानुनी र सुरक्षित बसोबास नभएको उल्लेख गरिएको छ । रिपोर्टमा विद्यार्थीमाथि उत्पीडन हुने गरेको, भीडभाडयुक्त घरमा राखिएको र अचानक घरबाट निकालिएको लगायतका विभिन्न समस्याहरू देखाइएको छ । मुख्य गरी अन्तर्राष्ट्रिय विद्यार्थी एक्लै हुने गरेको र उनीहरू कानुनी अधिकारबारे जानकार नभएकाले समेत पीडित हुने गरेको पाइएको छ ।


विश्वविद्यालयले अक्टोबर २०१७ देखि अप्रिल २०१८ सम्मको अवधिमा यहाँ रहेका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका विद्यार्थीका बीच अध्ययन गरिएको थियो । अध्ययनमा सिड्नीमा अध्ययनरत विद्यार्थीको मुख्य गरेर बसोबाससम्बन्धी समस्यामाथि अध्ययन केन्द्रित थियो । रिपोर्टमा विद्यार्थीले बसोबास गर्ने क्रममा भोग्नुपरेको गम्भीर समस्याको अध्ययन गरिएको थियो । यूएनएसडब्लूकी प्राध्यापक तथा क्लिनिकल सुपरभाइजर मारिया नवाजले विद्यार्थी कानुनी रूपमा सुरक्षित नभएको बताएकी छन् । रिपोर्टका अनुसार कैयौं विद्यार्थीले थाहै नभएका घरधनीहरूलाई अग्रिम भुक्तानी दिनुपरेको, केही घरधनीलाई आवश्यकताभन्दा धेरै बोन्ड तिर्नुपर्ने (घर लिनुअघि धरौटीका रूपमा दिनुपर्ने रकम), अचानक घरभाडा बढाउनेलगायतका समस्या देखिएका छन् । अस्ट्रेलियामा सुरुमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई मुख्य समस्या बसोबास र रोजगारको हुने गरेको छ । रिपोर्ट सार्वजनिक गरेको संस्थाकी निर्देशक बासिना फारबेनबल्मले सिड्नीको घरको उच्च भाडा र सीमित विद्यार्थीका लागि उपलब्ध बसोबासको सुविधाका कारण उनीहरू समस्यामा परेको बताएकी छन् ।


‘जीवनका लागि बास आधारभूत भए पनि अन्तर्राष्ट्रिय विद्यार्थी आफ्नो महत्त्वपूर्ण समय बस्नका लागि घर खोज्नमै समय बिताएको पाइन्छ,’ रिर्पोटमा उल्लेख छ । अस्ट्रेलियाको सरकारी तथ्यांक अनुसार अहिले करिब ७ लाख अन्तर्राष्ट्रिय विद्यार्थीले यहाँका विभिन्न विश्वविद्यालयमा अध्ययनरत छन् ।

विदेश

बेलायती राजदूतले दिए राजीनामा

- एएफपी

लन्डन – अमेरिकाका लागि बेलायती राजदूत सर किम ड्यारोकले राजीनामा दिएका छन् । उनको ईमेल चुहावटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तिक्तता बढेकै बेला यो राजीनामा आएको हो । सर किमले ट्रम्पलाई ‘अयोग्य र असफल’ भएको टिप्पणी गरेको सार्वजनिक भएपछि विवाद चुलिएको थियो ।


बेलायती विदेश मन्त्रालयका अधिकारीलाई बुझाएको राजीनामा पत्रमा किमले ट्रम्पसँगको सम्बन्ध सुधार्न ‘असम्भव’ देखेर आफूले राजीनामा दिएको उल्लेख गरेका छन् । ‘सम्बन्ध सुधार र बेलायती चासोबारे पटक–पटक बुझाउने प्रयास गरे पनि सफल हुन सकिनँ’ उनले राजीनामा पत्रमा लेखेका छन, ‘मैले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न अहिले असम्भवजस्तै भएको छ, त्यसैले मैले पदीय जिम्मेवारी त्याग्ने निर्णय गरेको छु ।’ बेलायत र अमेरिकाबीचको परिस्थितिलाई सहज बनाउन नयाँ राजदूतबाट सजिलो हुने विश्वासमा पनि आफूले राजीनामा दिएको बताए । उनले राजीनामाबारे प्रधानमन्त्री टेरेजा मेले संसद्मा जानकारी पनि दिइसकेको र राम्रो जिम्मेवारी निर्वाह गरेको भन्दै प्रमबाट धन्यवादसमेत पाइसकेको बताए । ट्रम्पको आलोचना गरेको किमको इमेल केही दिन अगाडि सार्वजनिक भएको थियो । इमेल सार्वजनिक भएसँगै ट्रम्पले पनि राजदूत किमको आलोचना गरेका थिए ।


राष्ट्रपति ट्रम्पले राजदूत सर किमसँग ‘व्यवहारै नगर्ने’ भनेका थिए । बेलायतले भने आफ्नो राजदूतप्रति ‘प्रधानमन्त्रीको पूर्ण समर्थन रहेको’ प्रतिक्रिया मंगलबार दोहराएको थियो । ‘डाउनिङ स्ट्रिट’ ले आफ्ना राजदूत सर किमप्रति ‘पूर्ण समर्थन’ रहेको भनेको थियो । सर किमको ईमेल चुहावटपछि बेलायती सरकारले यसबारे जाँचको आदेश दिएको थियो । ‘बीबीसी’ का कूटनीतिक संवाददाता जेम्स लेन्डनका अनुसार ट्रम्पले सर किमप्रति जुन प्रतिक्रिया व्यक्त गरे, त्यो आफ्नो मुलुकबाट विदेशी कूटनीतिकलाई देशबाहिर पठाउने औपचारिक कानुनी प्रक्रिया नै हो । राष्ट्रपति ट्रम्पले आफ्नो टीटमा जुन शब्दको प्रयोग गरेका थिए, त्यसले सर किमलाई बेलायत फिर्ता हुने भनेको विश्लेषण गरिएको थियो ।

विदेश

‘युवतीहरू काममा फर्किनु सकारात्मक’

चीनमा नेपाली कामदार
- लक्ष्मी लम्साल

(बेइजिङ) - चिनियाँ रोजगारदाता कम्पनीले सेवा सुविधाका सर्त उल्लंघन गरेको भन्दै काम बहिष्कार गरेका नेपाली युवती र सम्बन्धित म्यानपावर कम्पनीबीच वार्ता सकारात्मक रूपमा अघि बढेको छ । उत्तरपूर्वी चीनको ल्याउनिङ प्रान्तको तानतोङ सहरस्थित गार्मेन्टमा गत मे १२ मा काम गर्न पुगेका ४४ नेपाली युवतीमध्ये अधिकांशले सम्झौताबमोजिमको सेवासुविधा नपाएको भन्दै काम ठप्प पारेका थिए ।

काठमाडौं गौशाला पिंगलास्थानस्थित कम्पास रिक्रुटमेन्ट म्यानपावरमार्फत पहिलो पटक यति ठूलो संख्यामा वैदेशिक रोजगारका लागि चीन आएका नेपाली युवतीहरू पर्याप्त परामर्श, चिनियाँ जीवनशैली, खानपान, सम्पर्क भाषा लगायतबारे अनभिज्ञ भएपछि अप्ठ्यारोमा परेका थिए । त्यसमाथि म्यानपावर र गार्मेन्टबीचको मिलेमतोमा तोकिएको तलब, कार्यअवधि र कामको प्रकृति नमिलेको भन्दै उनीहरूले बेइजिङस्थित दूतावास र म्यानपावर कम्पनीलाई नेपाल फर्काइदिन वा सर्त पालनाका लागि दबाब दिन अनुरोध गरिरहेका थिए । कामदारको मागबारे छलफल गर्न गत आइतबार कम्पनीका सञ्चालक गिरिराज घिमिरे र राम कार्की कारखानास्थल पुगेका थिए ।

‘विगत दुई/तीन दिनको वार्ताबाट हामी सकारात्मक भएका छौं,’ काम छोडेकी एक युवती सुमित्रा बराइलीले भनिन्, ‘साथीहरूलाई काममा फर्काउन कम्पनीले प्रयास गरिरहेको छ । तलब थप्ने, कामका सेवासर्त पालना गर्ने प्रतिबद्धता आएको छ ।’ यसअघि ज्याकेट उत्पादन गर्ने उक्त गार्मेन्ट कम्पनीले प्रतिमहिना ४ सय अमेरिकी डलर, ८ घण्टा कामलगायतका श्रमिक सर्तसम्बन्धी सबै प्रक्रिया पूरा गरेर दूतावासमार्फत कामदारका लागि नेपालमा सम्पर्क गरेको थियो । दूतावासका मिनिस्टर सुशील लम्सालले कान्तिपुरलाई सम्झौताअनुरूप गर्ने हो भने सबै कुरा ठीक हुने बताए । उनले भने, ‘वार्ताको औचित्य पनि थिएन, तोकिएका सर्त पालना गर्ने हो, कुरै सकियो ।’ दूतावासले पूर्वसर्तअनुसार सेवासुविधा नदिएकाले सम्बन्धित म्यानपावरलाई कारबाही गर्न पटक–पटक नेपालस्थित वैदेशिक रोजगार विभागसमक्ष चिठी लेखेको थियो । वार्तामा रहेका कम्पनीका प्रतिनिधि घिमिरेले घरपरिवार छाडेर यत्रो दुःख गरेर यहाँसम्म आएका चेलीहरूलाई पूर्वसर्तबमोजिमका सेवासुविधा दिएर राख्न प्रयास भइरहेको बताए ।

उनले भने, ‘उहाँहरू काममा फर्किन तयार हुनुहुन्छ । मात्रै अगुवाइ गरेका ६ र ७ जनाले नेपाल फर्किने कि काममा जाने भन्नेमा निर्क्योल गर्न सकिरहेका छैनन् । छिट्टै निष्कर्षमा पुग्ने प्रयास हुँदै छ, एक–दुई दिनमै होला ।’ चीनको उत्तरी भेगस्थित तानतोङ सहर उत्तर कोरियाको सीमामा पर्छ । त्यहाँबाट बर्सेनि उत्तर कोरियनहरूले काम गर्न आउने गरेकोमा हाल त्यहाँको सरकारले रोक लगाएपछि नेपालीले अवसर पाएका हुन् । तर, कामदार युवतीहरूले गुनासो गर्दै म्यानपावरले चिनियाँ गार्मेन्टसँग गोप्य सम्झौता गरेर कम तलब र साना अक्षरका सम्झौतामा हस्ताक्षर गराएर फसाएको बताउँदै आएका छन् । म्यानपावरका प्रतिनिधिले भविष्यमा यस्तो गल्ती नदोहोरिनेबारेमा आश्वस्त गराएपछि काममा निर्धक्क फर्किन सक्ने केही युवतीको भनाइ छ ।

विदेश

लन्डनको भूमिगत रेल स्टेसनभित्र नेपाल प्रवर्द्धन

- कान्तिपुर संवाददाता

लन्डन– सिटी अफ वेस्ट मिनिस्टर बरोभित्र पर्ने सेन्ट जोन्स उडको आफ्नै ख्याति छ । कारण, ‘दी होम अफ क्रिकेट’ भनिने लर्डस मैदान यसकै आसपासमा छ, जहाँ कैयौं अन्तर्राष्ट्रिय खेल भइरहन्छन् । आउँदो १४ जुलाई आइतबार क्रिकेट वर्ल्ड कप फाइनल खेल पनि लर्डसमै तय भएको छ ।


यतिखेर सेन्ट जोन्स उड लन्डन अन्डरग्राउन्ड स्टेसनभित्र भित्तामा टाँगिएका केही थान आकर्षक विज्ञापनले दैनिक हजारौं विदेशी यात्रुको ध्यानाकृष्ट गरिरहेको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनसहित राखिएका ती विज्ञापनमा नेपालको सर्वोच्च शिखर सगरमाथा, मठमन्दिर, र्‍याफटिङ र शिल्पकलाको अद्भुत नमुना झल्कन्छ ।


बेलायतमा लन्डन अन्डरग्राउन्ड एडभरटाइजिङ अर्थात् ट्युब एडभरटाइजिङ विज्ञापनको प्रभावकारी माध्यम मानिन्छ किनकि एकै दिन लाखौंको नजरमा पर्छन् त्यहाँ टांगिने बिलबोर्ड विज्ञापन । राष्ट्रिय अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्नो ब्रान्ड स्थापित गर्न पनि यस्तै माध्यम अपनाउँछन् । तर, विज्ञापनमा बुद्ध भनेर टाँगिएका मूर्ति भने नेपालको नभई थाइल्यान्डको भएको भन्दै सामाजिक सञ्जालतिर आलोचना भएपछि यसलाई हटाइएको छ । ती अति महँगा विज्ञापन कसले राख्यो भन्नेबारे लन्डनस्थित नेपाली दूतावास भने बेखबर छ । ‘नेपाल पर्यटन बोर्ड र दूतावासलाई यसबारे केही थाहा छैन,’ दूतावासका उपनियोग प्रमुख शरदराज आरणले कान्तिपुरसँग भने, ‘बुद्ध भनेर राखिएका चित्र अन्तै देशको भएको बुझिएकाले यसले झन् भ्रम सृजना गर्‍यो । जसले राखे पनि नेपालसम्बन्धी सामग्री राख्दा एकपटक दूतावास वा पर्यटन बोर्डसँग अनुमति लिनु पर्दथ्यो ।’ नेपाल भ्रमण गर्ने बेलायती पर्यटक संख्या वृद्धि भइरहँदा यसले थप टेवा पुग्ने धेरैको विश्वास छ । बेलायतबाट गत वर्ष सन् २०१८ मा ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा गएको तथ्यांक छ । नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी यस वर्ष ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्र्याउने तयारीमा आफूहरू लागेको दाबी गर्छन् ।


‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल बनाउन दूतावासले पहल थालिसकेको छ । राजदूत डा. सुवेदीको अध्यक्षतामा एक उच्चस्तरीय समितिसमेत बनाइएको छ । पर्यटन अर्थतन्त्रको प्रमुख मेरुदण्ड भएकाले बेलायतबाट सक्दो सहयोग गर्ने दूतावासको प्रतिबद्धता छ ।

Page 11
कला र शैली

इस्पातका टुक्राबाट आकृति

- विपिन श्रीस
राजधानीको ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी इस्पात मूर्तिकला कार्यशालामा ॅआध्यात्मिक खुत्रुके’ थिममा मूर्ति बनाउँदै अगम श्रेष्ठ । तस्बिर ः कान्तिपुर

(काठमाडौं) - मूर्तिकार राजु पिठाकोठे बुधबार राजधानीको नक्साल सीताभवनस्थित ललितकला प्रज्ञा प्रतिष्ठानको परिसरमा इस्पातका टुक्राटाक्री बटुल्दै थिए । उनका लागि ती फगत इस्पातका टुक्रा थिएनन् । विविधता थिए, रंगीचंगी फूल जस्तै । यिनै टुक्रा जोडिएपछि मात्र पूर्ण आकृति बन्छ भन्ने सत्य मूर्तिकार पिठाकोठेलाई राम्रोसँग थाहा छ ।


‘एउटै पाताबाट पनि आकृति निर्माण गर्न सक्थें,’ आफूले बनाइरहेको मूर्तिको अवधारणा प्रस्ट पार्दै उनले भने, ‘संसार विविधतापूर्ण छ, भौगोलिक सांस्कृतिक विविधता छन्, राजनीतिक विविधता छ, देशहरू छन्, देशभित्र पनि विभिन्न जातजाति छन् । मूर्तिका विभिन्न पातामार्फत तिनै विविधता जनाउन खोजेको हुँ । ती सबैको संयोजनबाट नै सुन्दर संसार बन्न सक्छ ।’


यद्यपि यो उनको आफ्नो निजी धारणा हो । कलाकृति बनिसकेपछि दर्शकले जसरी व्याख्या गरे पनि हुन्छ, जसरी बुझे पनि हुन्छ । ‘कला बुझ्न दर्शकसँग स्वतन्त्रता हुन्छ,’ उनले भने । पाँच दिनदेखि प्रतिष्ठान परिसरमै जारी ‘इस्पात मूर्तिकला कार्याशाला’ मा उनी मात्रै हैन, काठमाडौंकै अगम श्रेष्ठ पनि टुक्राटाक्री जोडजाड गरिरहेको अवस्थामा भेटिए । उनीचाहिँ ‘आध्यात्मिक खुत्रुके’ बनाउँदै छन् । यो उनको आफ्नै परिभाषा हो । थिमलाई पुष्टि गर्न उनले हरेक पाताहरू ‘राम राम’ लेखेका छन् । उनले कलामार्फत सकारात्मक भावना प्रकट गर्न मात्रै खोजेका छैनन्, चारैतिर विसंगति र भ्रष्टता मौलाउँदै गइरहेको बेला उनको मूर्तिकला नैतिक हिसाबले प्रतीकात्मक बन्न सक्छ ।


बाराका दीपक लामा आफ्नो भावनालाई इस्पातको माध्यममार्फत अभिव्यक्त गरिरहेका छन् । उनले आफ्नो बन्दै गरेको मूर्तिकलाको अवधारणा ‘इन्डलेस इन्टरप्रिटेसन’ राखेका छन् । प्रतिष्ठानको मूर्तिकला विभागले मुलुकमै पहिलो पटक गरेको इस्पात मूर्तिकला कार्यशालामा देशका विभिन्न स्थानका दस मूर्तिकार भिडेर लागिरहेका छन् । परम्परागत रूपमा ढुंगा, माटो, काठ, तामा, पित्तललगायत सामग्रीको प्रयोगबाट मूर्ति निर्माण हुँदै आएकै छन् । इस्पातका माध्यमबाट भने नेपालमा खासै काम भएको देखिँदैन । काठमाडौं विश्वविद्यालयमा मूर्तिकला अध्यापन गर्दै आएका भुवन थापाका अनुसार पछिल्लो समय विकसित मुलुकमा इस्पातका मूर्तिदेखि पार्कसम्म बनाउने क्रम बढदो छ । आरम्भ समसामयिक मूर्तिकार समूहका अध्यक्षसमेत रहेका थापाले माध्यम आफैंमा राम्रो र नराम्रो नहुने बताउँदै इस्पातको चाहिँ केही थप विशेषता रहेको औंल्याए । ‘खिया नलाग्ने र लामो समय टिक्ने भएकाले इस्पातको मूर्ति बाहिरी (आउटडोर) प्रयोजनको लागि बढी उपयुक्त हुन्छ,’ इस्पातको मूर्तिको फाइदाबारे उनले थपे, ‘अन्य धातुको तुलनामा इस्पात सस्तो र हलुका हुन्छ, धेरै टिक्छ ।’ सहरी सजावटका लागि चोकचोकमा इस्पातका मूर्ति राख्न सकिने उनले सुझाए ।


इस्पातमा छिटो हुने भए पनि काम गर्न भने जोखिमपूर्ण रहेको मूर्तिकार पिठाकोठेले बताए । ‘इस्पात कडा हुन्छ, काट्ने, जोड्ने काम ध्यान दिएर गर्नुपर्छ, संवेनदशील हुनुपर्छ, सुरक्षामा ध्यान दिनुपर्छ,’ उनले भने । मूर्तिकला विभागका प्रमुख एवं प्राज्ञ लालकाजी लामाले इस्पात मूर्तिकला कार्यशाला नेपालमा पहिलोपटक गरिएको दाबी गरे । ‘व्यक्तिगत रूपमा केही मूर्तिकारले स्टेनलेस स्टिल (इस्पात) को काम गर्दै आएका छन्, संस्थागत रूपमा कार्यशाला गरिएको चाहिँ यो नै पहिलो हो,’ उनले भने । कार्यशालामा निर्माण भएका मूर्ति प्रतिष्ठानकै मूर्तिकला विभागले संरक्षण गर्ने प्राज्ञ लामाले बताए । ‘यो कार्यशालामा इन्डोरका लागि नमुना मूर्तिहरू मात्रै बन्ने छन्,’ उनले भने, ‘बगैंचा, पार्क या बाटो आसपास राख्न मिल्ने आउटडोर मूर्तिकलाका लागि पनि पहल गर्दै छौं ।’ कार्यशालामा विष्णुप्रसाद श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, कुमार थापा, विशाल सारु, चन्द्रमणि डंगोल र भूषण दुवालले पनि भाग लिइरहेका छन् ।

कला र शैली

मदन पुरस्कारको उत्कृष्ट सात सार्वजनिक

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सातवटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पीपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन् । पुरस्कारका लागि कुल २५७ कृति प्राप्त भएकामा छनोट समितिको सिफारिसमा ती सात कृतिको नाम सार्वजनिक गरिएको गुठीले जनाएको छ । छनोटमा परेका सात कृतिमध्येबाट एक कृतिलाई मदन पुरस्कार प्रदान गरिने छ । साहित्यिक क्षेत्रमा यस पुरस्कारलाई महत्त्वपूर्ण मानिन्छ ।

कला र शैली

संगीत–नाट्यका ६ साधकलाई प्रज्ञा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाली संगीत र नाट्य क्षेत्रका ६ जना पाका स्रष्टालाई बुधबार राजधानीमा संगीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७५ दिइएको छ । नाट्य विधातर्फ श्यामदास वैष्णव, संगीततर्फ प्रेमध्वज प्रधान, परम्परागत तथा शास्त्रीय संगीततर्फ जगदेव कामत, रंगमञ्चतर्फ ओममणि शर्मा, नृत्यतर्फ हनी श्रेष्ठ र लोकसंगीततर्फ प्रेमदेव गिरी सम्मानित भएका हुन् ।


राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन, शीतल निवासमा पुरस्कार प्रदान गरिन् । पुरस्कृत व्यक्तित्वहरूलाई ताम्रपत्र र दोसल्लाका साथ जनही एक लाख एक रुपैयाँ प्रदान गरिएको थियो । संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित समारोहमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी विशिष्ट अतिथिका रूपमा थिए । प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ’रायन’, उपकुलपति हरिहर शर्मा, सदस्य सचिव श्यामप्रकाश तमोट, प्राज्ञहरू मेघराज शर्मा ‘मञ्जुल’, निशा शर्मा, धीरेन्द्र प्रेमर्षि, अशोक राई, नमुना शर्मा र हरिदेवी कोइरालाले पुरस्कृतबारे प्रकाश पारेका थिए ।

कला र शैली

शान्तदासलाई बालसाहित्य

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कृष्ण साहित्य सदनले बालसाहित्यका क्षेत्रमा क्रियाशील स्रष्टा शान्तदास मानन्धरलाई ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ द्वारा सम्मानित गरेको छ ।


साहित्य सदनद्वारा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मानन्धरलाई उक्त बालसाहित्य पुरस्कार तथा सम्मान प्रदान गरे । साहित्यकार कृष्णप्रसाद पराजुलीको ८५औं जन्मजयन्तीको छेको पारेर सम्मान प्रदान गरिएको हो ।


सम्मानित स्रष्टालाई सम्मान पत्रसहित २१ हजार रुपैयाँ पनि प्रदान गरियो । कार्यक्रममा संस्कृतिविद् जोशीले साहित्यकार पराजुलीको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए ।शैलेन्दुप्रकाश नेपालले बालसाहित्यमा कलम चलाउने साहित्यकारहरू कृष्णप्रसाद पराजुली र शान्तदास मानन्धरको व्यक्तित्व र कृतित्वका बारेमा उल्लेख गरे । कार्यक्रममा शान्तदास मानन्धर, संस्थाका संरक्षक शाश्वत पराजुली, यादव भट्टराईलगायतले बोलेका थिए ।साहित्यकार पराजुली ‘रमाइला नानी’, ‘राम्रो रचना ः मिठो नेपाली’ लगायत दर्जनौं कृतिका स्रष्टा हुन् ।

कला र शैली

वैद्यलाई भीमसेन थापा स्मृति

- कान्तिपुर संवाददाता

काठमाडौं (कास– यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार तुलसीराम वैद्यलाई प्रदान गरिने भएको छ ।


पाँच दशकदेखि नेपालको इतिहाससम्बन्धी अनुसन्धानात्मक पुस्तक एवं लेखहरू प्रकाशित गरी पुर्‍याएको योगदानको कदर गर्दै वैद्यलाई पुरस्कृत गर्ने निर्णय गरिएको भीमसेन थापा स्मृति प्रतिष्ठानले जनाएको छ ।


पुरस्कार साउन ९ गते भीमसेन थापाको २४४ औं स्मृति दिवसको विशेष समारोहमा ५१ हजार एक सय ११ रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिने छ । विगत दुई दशकदेखि प्रतिष्ठानले इतिहासका क्षेत्रमा योगदान गर्ने संस्था वा व्यक्तिलाई पुरस्कृत गर्दै आएको छ । गत वर्ष यो पुरस्कार बेलायती इतिहासकार जोन हवेल्म्पटनलाई प्रदान गरिएको थियो ।

Page 12
समाचार

पूर्वमा चन्द समूहको गतिविधि बढ्दो

- माधव घिमिरे

(विराटनगर) - नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको गतिविधि प्रदेश १ का हिमाली र पहाडी जिल्लामा बढ्दै गएको छ । जंगल क्षेत्रमा आश्रय लिएर आसपासका गाउँमा चन्दा संकलन गर्ने, स्थानीयलाई धम्क्याउनेजस्ता गतिविधि भइरहेको प्रहरीले जनाएको छ । संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बुलगायत जिल्लामा यस्तो गतिविधि बढेसँगै निगरानी बढाइएको विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भोजपुर र संखुवासभामा पटक–पटक गोली हानाहानका घटना भएका छन् । आधुनिक हतियार, विस्फोटक सामग्री र पार्टीका अभिलेख बरामद भएका छन् । फागुनयता विभिन्न स्थानबाट दर्जनभन्दा बढी हतियार बरामद भएको प्रहरीको भनाइ छ ।


कार्यालयका प्रवक्ता एसएसपी किशोरकुमार दाहालका अनुसार सबै जिल्लाका स्थानीय कार्यालयको सुरक्षा संवेदनशीलता ख्याल गर्दै निगरानी गर्न प्रहरीको सबै तहमा निर्देशन दिइएको छ । हिंसा उत्पन्न गर्ने खालका गतिविधिबारे सूचना संकलन गर्न र शान्तिसुरक्षामा खलल पुग्ने अवस्था आउन नदिन योजनाबद्ध रूपमा काम गर्न भनिएको उनले बताए । सबै स्थानका प्रहरी टोलीलाई उच्च सतर्कतामा राखिएको उल्लेख गर्दै एक अधिकारीले भिडन्त वा झडप भइहाले तत्काल थप जनशक्ति पठाउने गरी तयारी गरिएको बताए । ‘मुख्यालय र प्रदेश कार्यालयमा नियमित सूचना संकलन भइरहेको छ,’ उनले भने, ‘परिआए केन्द्र र प्रदेशबाट थप टोली तत्कालै परिचालन गर्ने अवस्थामा छौं ।’जेठ पहिलो साता भोजपुरको मैयुम गाउँपालिका–१ स्थित धोद्रे जंगलमा प्रहरी र चन्द कार्यकर्ता आमनेसामने भएका थिए । त्यसक्रममा चन्द समूहका एक कार्यकर्ता मारिए । षडानन्द–२ का ३२ वर्षीय तीर्थराज घिमिरेलाई गोली लागेपछि उपचारक्रममा मृत्यु भएको थियो । त्यसक्रममा पेस्तोल, गोली, बाइनाकुलर, डेटोनेटर, बारुद र पार्टीसम्बद्ध पर्चा–पम्प्लेट बरामद भएको प्रहरीको दाबी थियो ।


१० दिनअघि संखुवासभाको सिलिचोङ–१, सिसुवाटारको होङ्लामा प्रहरी र चन्द समूहबीच गोली हानाहान भएको थियो । गस्तीमा रहेको प्रहरी टोलीमाथि चन्द समूहका कार्यकर्ताले आक्रमण गरेका थिए । त्यसपछि सिलिचोङ क्षेत्रमा एक घण्टाभन्दा बढी सेनाको ३ वटा हेलिकप्टरले हवाई गस्ती गरेको संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताएका थिए ।


एसएलआरसहित पक्राउ
प्रहरीले चन्द समूहका एक कार्यकर्तालाई एसएलआरसहित संखुवासभामा पक्राउ गरेको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एसएलआर राइफल र त्यसमा प्रयोग हुने ६९ वटा गोली बरामद गरेको छ ।

समाचार

गाउँगाउँमा थपिए सुरक्षाकर्मी

सादा पोसाकमा प्रहरी परिचालन, केन्द्रीय नेतासहित दुई दर्जन पक्राउ
- काशीराम डाँगी

(रोल्पा) - नेत्रविक्रम चन्द समूहको आधार क्षेत्र मानिएको रोल्पामा थप सुरक्षा सतर्कता अपनाइएको छ । चन्दका कार्यकर्ताको गतिविधि पूर्ण नियन्त्रणमा लिने रणनीतिसहित ग्रामीण क्षेत्रमा समेत सुरक्षाकर्मीको संख्या बढाइएको छ । महासचिव नेत्रविक्रम चन्दको जन्म जिल्ला र गतिविधि पनि बढी भएकाले सुरक्षा निकायले उच्च सतर्कता अपाएका हुन् । गाउँगाउँमा परिचालित सादा पोसाकका सुरक्षाकर्मीले चन्दका कार्यकर्तालाई पक्राउ गर्दै उनीहरूको गतिविधि निस्तेज पार्ने रणनीति अघि सारेका छन् । एक वर्षको अवधिमा प्रहरीले चन्दका दुई दर्जन नेता–कार्यकर्तालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामा स्थानीयदेखि केन्द्रीय तहका नेतासमेत छन् । केहीलाई रिहा गरे पनि प्रहरीले कतिपयलाई सुरक्षा व्यवस्थामाथि खलल पारेको अभियोगका मुद्दा दर्ता गराएको छ । पक्राउ गरिएकामध्ये केहीलाई हिरासतमा र केहीलाई पुर्पक्षका लागि कारागारमा राखिएको छ ।


सुरक्षाकर्मीले सशक्त मानिएका प्रायः कार्यकर्तालाई नियन्त्रणमा लिइसकेका छन् । प्रहरीले यसअघि केही शिक्षकलाई समेत नियन्त्रणमा लिएर छोडेको थियो । सुरक्षा स्रोतका अनुसार चन्दको गतिविधिमा लागेको आशंकामा केही शिक्षकको खोजी जारी राखिएको छ । स्थानीय तहका गतिविधिप्रति अवरोध गरेको सूचना प्राप्त भएकाले चन्दका कार्यकर्तामाथि निगरानी बढाउनुपरेको प्रहरीले जनाएको छ । ‘केही स्थानीय तहका सवारी साधन र कार्यालयमा आगजनी गरेकाले हिंसात्मक गतिविधि नियन्त्रण गर्नुपरेको हो,’ जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक खडका भन्छन्, ‘हिंसा मच्चाउने र भडकाउने जोसुकैप्रति सुरक्षाकर्मीले चौबिसै घण्टा निगरानी राख्छन् ।’ उनले जनप्रतिनिधि, सरकारी सम्पत्ति र जनसाधारणको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालित भइसकेको बताए ।


चन्दका कार्यकर्ताले यसअघि पश्चिम रोल्पास्थित गंगादेव र त्रिवेणी गाउँपालिकाका गाडी, जेसीभी र कागजात जलाइदिएका थिए । उक्त अभियोगमा गंगादेव र माडीबाट केहीलाई नियन्त्रणमा लिइएको खडकाले बताए । उक्त घटनापछि प्रहरीले गंगादेव गाउँपालिकास्थित जिनाबाङका चन्द समूहका केन्द्रीय सदस्य चूडामणि वली आदर्श र जिल्ला ‘जनसरकार’ प्रमुख लालबहादुर वलीलाई नियन्त्रणमा लिएको थियो । चूडामणि र लालबहादुर दाजुभाइ हुन् । अदालतको आदेशमा चूडामणिलाई दुई दिनअघि सुनसरीबाट रिहा गरिएको छ ।


केही समयअघि चन्द समूहका कार्यकर्ताले पूर्वी रोल्पाको सुलिचौरस्थित नेपाल टेलिकम र एनसेलका टावरमाथि बम विस्फोटसमेत गराएका थिए । उनीहरूले कोर्चाबाङस्थित एनसेलको टावरमा पनि क्षति पुर्‍याएका थिए । यस्तै, शान्ति सुरक्षामाथि खलल पुर्‍याएको आशंकामा रोल्पा इन्चार्ज जयप्रकाश रोकालाई प्रहरीले पक्रेको छ । उनलाई पाङको ऐपे गाउँबाट अन्य दुई कार्यकर्तासहित एक महिनाअघि पक्राउ गरिएको थियो । उनीहरूसहित ९ नेता–कार्यकर्ता प्रहरी हिरासतमा छन् । चन्दनिकट दलित संघका केन्द्रीय सदस्य टीकाराम परियारसहित नेपेन्द्र सेन र लालबहादुर सुनारलाई स्थानीय प्रशासनले धरौटीमा रिहा गरिसकेको छ ।


पक्राउ गरिएका अधिकांशलाई शान्ति सुरक्षामा खलल, विस्फोटक पदार्थको ओसारपसार र हिंसा भडकाएको अभियोगमा मुद्दा लगाइएको छ । सरकारले चन्दको गतिविधि नियन्त्रण गर्न उक्त समूहमाथि प्रतिबन्ध लगाइसकेको छ ।


स्थानीय तहमा 'चन्दाको दबाब'
सुरक्षा स्रोतका अनुसार चन्दका कार्यकर्ताले जिल्लामा चन्दा संकलनलाई तीव्रता दिएका छन् । स्थानीय तहका जनप्रतिनिधि, प्राविधिक, शिक्षक र कर्मचारीबाट जबर्जस्त चन्दा माग गरिएकाले शान्ति सुरक्षामा समस्या आइपरेको सुरक्षा संयन्त्रको निष्कर्ष छ । ‘स्थानीय तहमा दबाब सिर्जना गर्दै २ प्रतिशत रकम चन्दास्वरूप माग गरेको बुझिएको छ,’ एक सुरक्षा अधिकारी भन्छन्, ‘त्यसबारे खुलेर कसैले भन्न सकेको छैन ।’


सुरक्षा अधिकारीहरूले सुरक्षा समितिको बैठकमार्फत चन्दा माग्ने र हिंसा बढाउने व्यक्ति र शक्तिविरुद्ध ‘एकीकृत सुरक्षा कारबाही’ गर्ने रणनीति अघि सारेका छन् । प्रहरी नेतृत्वमा रोल्पामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीसमेत परिचालित छन् । ‘सुरक्षा सतर्कतासहित जिल्लामा प्रहरीको संख्या ३० देखि ३५ प्रतिशत बढाइएको छ’, ती अधिकारीले भने ।


रोल्पामा प्रहरीको संख्या करिब ६ सय र सशस्त्र प्रहरीको संख्या ३ सय हाराहारी छ । सुरक्षा व्यवस्था मजबुत पार्न सशस्त्र प्रहरीले सदरमुकामसहित गाउँगाउँसम्म ‘पट्रोलिङ’ गर्दै आएको छ भने सेनालाई उच्च सतर्क रहन भनिएको छ । चन्द समूहलाई प्रतिबन्ध लगाइएसँगै सादा पोसाकका सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सुरक्षा अवस्था मजबुत पार्न एकीकृत सुरक्षा व्यवस्था मिलाइएको बताए । उनले सुरक्षा निकायबीच समन्वय गरेर सतर्क रहने प्रणाली सुरु गरिएको बताए ।

समाचार

'आक्रमण गरेपछि जवाफी फायर'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबार भोजपुर नगरपालिका–७ मा हाटबजार लाग्ने स्थानको सुरक्षामा खटिएको प्रहरीमाथि नेत्रविक्रम चन्द समूहले अचानक गोली प्रहार गरेपछि दुई जनाको ज्यान जाने गरी घटना भएको बताएका छन् ।


प्रतिनिधिसभा राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा उनले चन्द समूहको गोलीले एक प्रहरी जवानको मृत्यु भएको र जवाफी कारबाहीमा चन्द समूहका एक जना मारिएको जानकारी गराए । बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र डिला संग्र्रौलाले घटनाबारे यथार्थ जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनाललाई बोल्न दिइएको थियो । खनालले उक्त घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लागेको समेत जानकारी दिए । उनले चन्द समूहका फरार कार्यकर्ताको खोजतलास जारी रहेको बताए ।

 

Page 13
अर्थ वाणिज्य

निर्माण मोडालिटी अझै टुंगिएन

- विजय तिमल्सिना

काठमाडौं - नेपाल र भारतबीच आदानप्रदानका लागि प्रस्तावित ४ सय केभी क्षमताको न्यु बुटवल–गोरखपुर प्रसारण लाइनको निर्माण मोडालिटीको निष्कर्ष ननिस्किएपछि यसको जिम्मा सचिवस्तरीय बैठकलाई दिइने भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका अधिकारीहरूले न्यु बुटवल–गोरखपुरको लगानी र निर्माण मोटालिडीको विषयमा मंगलबार नयाँदिल्लीमा छलफल गरेका थिए । छलफलमा भाग लिएर फर्किएका प्राधिकरणका कार्यकारी निर्देशिक कुलमान घिसिङले छलफलमा प्रसारण लाइनबारे सचिवस्तरीय बैठकले दिएको विकल्पमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको बताए ।
‘सचिवस्तरीय बैठकले हामीलाई दिएको विकल्पमा छलफल भयो,’ उनले भने, ‘हामीले छलफल मात्रै गरेका छौं, यसबारे निर्णय सचिवस्तरीय बैठकले गर्छ ।’
पछिल्लोपटक माघ ९ र १० गते पोखरामा बसेको सचिवस्तरीय समितिको अर्को बैठकको मिति टुंगो लागेको भने छैन ।
पोखरामा बसेको नेपाल–भारत ऊर्जा सचिव र सहसचिवस्तरीयसंयुक्त निर्देशक समितिको बैठकले तीन महिनाभित्र प्रसारण लाइनको निर्माण मोडालिटीको विषयमा छलफल गरी सुझाव पेस गर्ने निर्णय गरेको थियो । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले लगानी तथा निर्माण मोडालिटीमा छलफल गरी सुझाव पेस गर्ने जिम्मा पाएका थिए ।
विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणबीचको बैठकमा टनकपुर सबस्टेसनको जडित क्षमता वृद्धि गर्ने विषयमा पनि छलफल भएको घिसिङले जानकारी दिए । पोखरामा भएको बैठकले भारतको टनकपुर सबस्टेसनमा जडित ५० एमभीए क्षमताको ट्रान्सफर्मर २०१९ मार्चसम्म बदली गर्ने निर्णय भएको थियो । सबस्टेसनमा एक सय एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी क्षमता वृद्धि गर्ने तयारी छ ।
नेपालले अन्तरदेशीय प्रसारण लाइन ७ वर्षसम्म बुक गर्न सकिने प्रस्ताव भारतीय पक्षसमक्ष राखिसकेको छ । पोखरामा बसेको सचिवस्तरीय बैठकले लगानी र निर्माण मोडालिटीको विषयमा छलफल गर्न दुई देशका विद्युत् प्राधिकणलाई विकल्प दिएको थियो ।पोखरा बैठकको माइन्युटअनुसार नेपालले ७ वर्षसम्म प्रसारण लाइन बुकिङ गर्ने र ७ वर्षपछि भारतले त्यसपछिको लागत व्यहोर्ने प्रस्ताव छ । नेपाल र भारतले ५०–५० प्रतिशत स्वपुँजी रहेको संयुक्त कम्पनी स्थापना गरी सम्बन्धित सरकारबाट अनुदान वा ब्याजरहित ऋण लिएर पनि निर्माण गर्न सकिने विकल्प बैठकले प्रस्तुत गरेको छ । शतप्रतिशत स्वपुँजीबाट निर्माण गर्ने यो प्रस्ताव भारतीय पक्षले राखेको हो ।

यो अन्तरदेशीय प्रसारण लाइन भारततर्फ १२० किलोमिटर र नेपालतर्फ २० किलोमिटर बनाउनुपर्छ । २०१६ मा गरिएको अध्ययनअनुसार प्रसारण लाइन निर्माणका लागि करिब १३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । पोखरामा भएको बैठकमा नेपालले आफ्नो तर्फको प्रसारण लाइन आफैंले बनाउने र भारततर्फको प्रसारण लाइनमा दुवै देशले ५०–५० प्रतिशत लगानी गर्ने प्रस्ताव राखेको थियो ।
पोखरामा बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले संयुक्त रूपमा तयार पारेको इनर्जी बैंकिङसम्बन्धी प्रस्तावलाई पनि स्वीकार गरेको थियो । भारतीय पक्षले इनर्जी बैंकिङको कार्यान्वयनका लागि नियमहरू जारी गर्न पनि सहमति जनाएको थियो ।
न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन दुई देशबीचको इनर्जी बैंकिङका लागि पनि महत्त्वपूर्ण पूर्वाधार हो । २०७३ असार १३ र १४ गते बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले यो प्रसारण लाइन निर्माणमा सहमति जुटाएको थियो ।
अहिले नेपाल र भारतबीच ठूलो परिमाणमा ऊर्जा आदानप्रदान गर्ने विकल्प छैन । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन अहिले २२० केभी क्षमतामा सञ्चालित छ । सन् २०१९ का अन्त्यसम्ममा यसलाई ४ सय केभी क्षमतामा स्तरोन्नति गर्ने गरी काम भइरहेको छ । हाल यो प्रसारण लाइनबाट करिब ३ सय मेगावाट विद्युत् आदानप्रदान गर्न सकिन्छ । ४ सय केभी क्षमतामा स्तरोन्नति भएपछि ६ सय मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने अपेक्षा छ ।

अर्थ वाणिज्य

सरकारी खर्च बढेपछि बैंकलाई राहत

- कान्तिपुर संवाददाता

काठमाडौं - गत साता वाणिज्य बैंकमा १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढेसँगै बैंकमा निक्षेप पनि बढेको हो । पछिल्ला साताहरूमा बैंकहरूमा निक्षेप बढ्दो क्रममा छ । यसले बिस्तारै तरलता (लगानीयोग्य रकम) सहज बन्दै गएको बैंकरहरू बताउँछन् । अन्तर बैंक र सरकारी ट्रेजरी बिल्सको ब्याजदर घट्दै जानुले तरलता सहज रहेको पुष्टि हुने जानकारहरू बताउँछन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको निक्षेप २७ खर्ब ९३ अर्ब रुपैयाँ छ । असार १३ मा यस्तो निक्षेप २७ खर्ब ७६ अर्ब रुपैयाँ थियो । पछिल्ला तीन सातामा निक्षेप करिब ३४ अर्ब रुपैयाँले बढेको छ । जेठ ३१ मा वाणिज्य बैंकहरूमा २७ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
गत साताको निक्षेप सोही अवधिको पुँजीगत खर्चभन्दा बढी छ । बुधबारसम्म १ खर्ब ८४ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ । यो कुल विनियोजित पुँजीगत खर्चको ५७.२३ प्रतिशत मात्र हो । एक साताअघि (असार १७ मा) कुल पुँजीगत खर्च १ खर्ब ७० अर्ब रुपैयाँ (लक्ष्यको ५४.०९ प्रतिशत) थियो । यसले एक सातामा पुँजीगत खर्च १४ अर्ब ३२ करोड रुपैयाँले बढेको देखिन्छ ।
गएको तीन साता निक्षेपको वृद्धि राम्रो देखिए पनि ऋण प्रवाह भने न्यून छ । सो अवधिमा २८ वटा बैंक तथा वित्तीय संस्थाले कुल ८ अर्ब रुपैयाँ मात्र ऋण प्रवाह गरेका छन् । जसमध्ये गत साता ५ अर्ब रुपैयाँ थप ऋण विस्तार भएको देखिन्छ ।
बजारमा ऋणको माग नभएर कर्जा कम गएको नभई असार मसान्त भएकाले अधिकांशले ऋण प्रवाह रोकेको बैंकरहरू बताउँछन् । गत शुक्रबारसम्म बैंकहरूको कुल ऋण प्रवाह २४ खर्ब ७६ अर्ब रुपैयाँ छ । एक साताअघि यस्तो लगानी २४ खर्ब ७१ अर्ब रुपैयाँ थियो ।
असार महिना आर्थिक वर्षको अन्त्य भएकाले पनि बैंकहरूले नयाँ ऋण विस्तार गर्न नचाहने भएकाले ऋण प्रावह कम देखिएको उनीहरूको भनाइ छ । ‘यो ऋण असुली गर्ने धेरैभन्दा धेरै मुनाफा संकलन गर्ने बेला हो,’ एक बैंकरले भने, ‘यो बेलामा बैंकहरूले सकेसम्म ऋण प्रवाह गर्न चाहँदैनन् ।
यसकारण प्रक्रियामा रहेको कर्जा पनि अत्यावश्यकबाहेक सबै साउनपछि मात्र विस्तार गर्छन् ।’
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ११.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.१ प्रतिशतले बढेको थियो ।
यस्तै गत वैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८.१ प्रतिशतले बढेको थियो ।
वार्षिक रूपमा हेर्दा वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १९.८ प्रतिशतले बढेको छ । जसमध्ये बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, ३२.८ प्रतिशत र ४७.८ प्रतिशत छ । यस्तै कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.७ प्रतिशत रहेको छ । २०७५ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४४.१ प्रतिशत रहेको थियो ।
वार्षिक विन्दुगत आधारमा ०७६ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २१.५ प्रतिशतले बढेको छ । जसमध्ये वाणिज्य बैंकको कर्जा १५.५ प्रतिशतले, विकास बैंकको ३१ प्रतिशतले र वित्त कम्पनीको १६.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

Page 14
अर्थ वाणिज्य

अलैंचीको व्यवसायीकरण हुन सकेन

- कान्तिपुर संवाददाता

काठमाडौं – नेपालमा अलैंचीको उत्पादन राम्रो भए पनि व्यावसायीकरण हुन नसकेको विज्ञले बताएका छन् ।
बुधार राजधानीमा आयोजित आयोजित एक कार्यक्रममा विज्ञले उत्पादनमा जस्तै बजार प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका हुन् । ‘नेपाल अलैंची उत्पादनको क्षेत्रमा विश्वमै अग्रणी स्थानमा छ । उत्पादनको अनुपातमा यसको व्यवसायीकरण हुन सकेको छैन,’ राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका कार्यक्रम अधिकृत अर्जुन थापाले भने । हाल परम्परागत शैलीमै उत्पादन भइरहेको, कुन जातको कस्तो माटोमा रोप्ने, कति रोप्ने भनी अध्ययन हुन नसकेको उनले बताए ।
‘प्रविधिको प्रयोग गरेर आधुनिक ढंगबाट यसको उत्पादनमा लाग्ने हो भने नेपालले यस क्षेत्रबाट प्रशस्त लाभ लिन सक्छ,’ उनले भने, ‘अलैंचीमा रोग लाग्ने समस्याले पनि यसको उत्पादनमा प्रभाव पारेको छ, उत्पादनका सम्बन्धमा अनुसन्धान हुनु पनि आवश्यक देखिएको छ ।’
नेपाल, भुटान र भारतमा उत्पादित अलैंचीले विश्व बजारमा राम्रो मूल्य पाइरहेका र यी मुलुकहरूले आपसी समन्वय गरेर उत्पादनमा लागे किसानहरू थप लाभान्वित हुने पनि छलफलमा बताइएको थियो । दक्षिण एसियाली मुलुकमा अलैंची खेतीको विकास र सम्भाव्यताबारे विश्व बैंकको आयोजनामा छलफल भएको हो ।
कार्यक्रममा दक्षिण एसियाली मुलुकका लगानीकर्ताले अलैंचीको बजारीकरणमा विशेष गरी महिला उद्यमीको भूमिकाबारे छलफल गरेका थिए । अलैंची खेतीबाट नेपालको ताप्लेजुङ जिल्लाका महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएको प्रस्तुति कार्यक्रममा गरिएको थियो ।

अर्थ वाणिज्य

केराको औसत उत्पादन दोब्बर

- गणेश चौधरी

कैलाली - टीकापुरमा केराको औसत उत्पादन दोब्बर पुगेको छ । राष्टिय औसत उत्पादन प्रतिहेक्टर १५ टन भए पनि टीकापुरमा भने प्रतिहेक्टर ३५ टन पुगेको छ ।
केराको राम्रो बीउ र जात, थोपा सिँचाइ प्रविधि र किसानको राम्रो अभ्यासका कारण टीकापुरमा केराको उत्पादन बढेको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको कृषि तर्फको कार्यालयका प्रमुख भरत कँडेलले बताए । ‘बगैंचा तथा मलखादको व्यवस्थापन राम्रो बनाउन सके यहाँ प्रतिहेक्टर ५० टन केरा उत्पादन गर्न सकिन्छ,’ उनले भने ।
पछिल्लो समय टीकापुरका केरा किसान सबैले थोपा सिँचाइ प्रविधि अपनाएका छन् । नेपालमा झोल मल उपलब्ध छैन । दाना मल पानीमा राम्रोसित नघोलिँदा सिफारिसअनुसार सबै बोटले मल पानी नपाएकाले उत्पादन केही कम हुन गएको प्रमुख कँडेलले बताए ।
उनका अनुसार सरकारले झोल मल आयात गरेको छैन । केरा खेतीमा थोपा सिँचाइ प्रविधि प्रयोगमा ल्याएका किसानले झोल मल नभएर दानालाई पानीमा घोलेर प्रयोग गर्ने गरेका छन् । दाना मल पानीमा राम्रोसित नघोलिँदा पानी र मल दुवैको मात्रा केराको बोटलाई कम हुन जाने गरेको छ । केरा खेतीका लागि झोल मल नभई नहुने भएकाले औपचारिक तथा अनौपचारिक रूपमा झोल मल आयातका लागि कुरा गरिरहेको कँडेलले बताए ।
केरा खेतीमा आएको नवीनतम प्रविधिसँगै केरा खेतीतर्फ यहाँका किसान आकर्षित भएका छन् । केरा खेती विस्तार हुँदै गएपछि टीकापुर केराको हब बन्न थालेको छ । रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको कमान्ड एरियामा करिब ६ सय बढी हेक्टर क्षेत्रफलमा केरा खेती भएको आयोजनाले जनाएको छ ।
रानी–जमरा–कुलरिया कुलो सिँचाइ आयोजनाको सहयोगमा केरा खेती विस्तार हुँदै गएपछि केरा किसान टेकेन्द्र धामीले टिस्यु कल्चर प्रविधिबाट विलियम हाइब्रिड र जी ९ जातको केराको बेर्ना उत्पादन गरिरहेका छन् । उनले भने, ‘यो ठाउँका लागि यही केराको बेर्ना माग बढी छ ।’
टिस्यु कल्चरबाट उत्पादित बेर्नाबाट लगाइएको केरामा रोग कम लाग्ने र ठूला परिमाणमा खेती गर्नका लागि ढुवानी पनि सजिलो हुने र प्रत्येक बोटले उत्पादन पनि सँगै दिने किसानहरू बताउँछन् । यो प्रविधिबाट उत्पादित केरा बेच्न पनि सजिलो हुने कोओर्डिनेटर कँडेलले बताए । ‘टिस्यु कल्चरबाट उत्पादित बेर्नाको माग बढदै गएको छ,’ उनले भने ।
अरू खेतीभन्दा सजिलो पनि भएको र फाइदा पनि बढी हुने भएकाले अन्नबालीभन्दा केरा खेतीमा लागेको केरा किसानहरू बताउँछन् । केरा फलका रूपमा मात्र नभई यसबाट विभिन्न खाले परिकार पनि बन्ने र यसबाट बनेका परिकारले आन्तरिक तथा बाह्य पर्यटक तान्दै गएपछि बजार समस्या नहुँदा किसानहरू यो खेतीमा आकर्षित हुँदै गएका हुन् । केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश व्यावसायिक किसानले जग्गा भाडामा लिएर केरा खेती गरेका छन् ।
यहाँको केरा छिमेकी जिल्लाहरू बर्दिया, बाँके, दाङ र बुटवललगायतका ठाउँमा जाने गरेको छ । नेपालमा करिब ५० प्रतिशत केरा भारतबाटै आउने भएकाले आयात रोकी केरामा आत्मनिर्भर बनाउन सहयोग होस् भनेर टीकापुरलाई केराको हबका रूपमा विकास गरिँदै छ ।

अर्थ वाणिज्य

अनुदानमा आलु चिप्स उत्पादन

- कान्तिपुर संवाददाता,रासस

डडेल्धुरा – जिल्ला सदरमुकाममा आलु चिप्स उद्योग सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपर जोनको पूरक अनुदान सहयोगमा उद्योग सञ्चालनमा भएको हो ।
उत्पादन बढ्दै गएपछि आलु सुपरजोन बनाइएको डडेल्धुरामा खपतका लागि चिप्स उद्योग सञ्चालन गरिएको परियोजनाले जनाएको छ । परियोजनाको आठ लाख रुपैयाँ बराबरका उपकरण सहयोगमा उद्योग सञ्चालनमा ल्याएको सञ्चालक टेकराज पाण्डेयले बताए ।
आइतबार आलु चिप्स उत्पादन परीक्षण सार्वजनिक गर्दै सञ्चालक पाण्डेयले उद्योग सञ्चालन गरी आलु चिप्स बजारमा ल्याएको जानकारी दिए । सञ्चालक पाण्डेयले जीएस नामक उद्योगमार्फत यसअघि गोलभेंडा, ‘मिक्स सस’ र नमकिन बजारमा ल्याएको बताउँदै केही उपकरण आलु चिप्समा पनि काम लाग्ने भएकाले चिप्स पनि बजारमा ल्याएको जानकारी दिए । उद्योगका लागि आवश्यक भवन र स्थान पर्याप्त रहेको बताए ।

Page 15
अर्थ वाणिज्य

विद्युत् अभावमा निर्माण कार्य प्रभावित

गौतम बुद्ध विमानस्थल
- माधव ढुंगाना

भैरहवा - चौबीसै घन्टा विद्युत् उपलब्ध नहुँदा आगामी डिसेम्बरसम्म सञ्चालनको तयारी भइरहेको यहाँस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना समस्यामा पर्न थालेको छ । डेडिकेटेड विद्युत् लाइन अभावमा आयोजनाको निर्माण कार्य प्रभावित हुन थालेको हो । आयोजनास्थलमा त्यस्तो विद्युत् कहिलेसम्म उपलब्ध हुने भन्ने यकिन छैन ।
आयोजनास्थलमा डेडिकेटेड विद्युत् लाइन पुर्‍याउन आवश्यक पोललगायतका संरचना निर्माण गरिएको छैन । विद्युत् प्राधिकरण र भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाले यसबारे चासो देखाएका छैनन् । ‘आयोजनास्थलमा डेडिकेटेड विद्युत् लाइन समयमा उपलब्ध गराइदिन बारम्बार अनुरोध गर्दासमेत कार्यान्वयनका लागि ध्यान पुग्न सकेको छैन,’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘लाइन अभावले आयोजनाको काम प्रभावित हुन थालेको छ । समस्या आउन थालेको छ ।’ आयोजनाका बाँकी काम उपकरण जडानसँग सम्बन्धित रहेकाले विद्युत् अपरिहार्य भएको उनले बताए ।
डेडिकेटेड विद्युत् लाइन जडानका लागि विमानस्थल आयोजनाले ०७३ पुस २५ गते विद्युत् प्राधिकरणको बैंक खातामा ४ करोड १४ लाख २१ हजार रुपैयाँ जम्मा गरिसकेको छ । रकम जम्मा गरेको यतिका समय बित्दा पनि लाइन जडानका लागि चासो नदेखाएको उनले बताए । त्यसपछि पटक–पटक पत्राचार र टेलिफोन सम्पर्क गरेर जडानका लागि अनुरोध गर्दै आएको अधिकारीले जनाए । प्राधिकरणले सडक किनारामा पोल गाड्ने जिम्मा भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाको भएको दाबी गर्दै आएको छ । पोल गाडेपछि मात्र विद्युत् जडान गरिदिने जवाफ दिँदै आएको छ । सडक विस्तारका क्रममा पोल हटाइएको थियो । पोल गाड्ने जिम्मेवारी सडक योजनाको हो ।
विद्युत् प्राधिकरण भैरहवा वितरण शाखाका प्रमुख उमेश झाले आयोजनास्थलसम्म पोल गाड्ने र पोलभन्दा माथिको हाइटेन्सन लाइन तान्ने काम सडक योजनाको भएको बताए । त्यो काम पूरा हुनासाथ डेडिकेटेड फिडर तानिने उनले बताए । ‘पटक–पटक सडक योजनालाई ताकेता गर्दा पनि पोल गाड्ने र तार तान्ने काम भएको छैन,’ प्रमुख झाले भने, ‘ताकेता गरेपछि साता–१५ दिनमा गर्ने भन्छन् । महिनौं बित्दा पनि प्रगति हुन सकेको छैन ।’ सडक योजनाले आफ्नो जिम्मेवारीको काम पूरा गरेको तीन साताभित्र डेडिकेटेड लाइन जडानको काम सकिने उनले बताए ।
प्राधिकरणको खातामा रकम जम्मा गरेपछि पनि काम अगाडि नबढेपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सरोकारवाला निकायको बैठक बसेर काम छिटो गर्ने सहमति भएको थियो । ११ केभी क्षमताको डेडिकेटेड लाइन जडानका लागि विमानस्थलमा ट्रान्सफर्मर आइसकेको छ । विद्युत् जडान नहुँदा विगतमा विमानस्थल आयोजनाका ठेकेदारले २० लाख रुपैयाँको डिजेल खरिद गरी निर्माण कार्य गर्नुपरेको थियो ।
आयोजना प्रमुख अधिकारीले डेडिकेटेड लाइन अभावले विमानस्थल परिसरभित्र दोस्रो ठेक्काअन्तर्गत पावर सप्लाईको काम र कनेक्सन गर्न नसकिएको बताए । जसका कारण उपकरण जडान गर्न समस्या भइरहेको छ । पावर स्टेसनको निर्माण, वायरिङ, परीक्षणका काम रोकिएका छन् । दोस्रो ठेक्का विभिन्न मेसिनरी उपकरण जडानसँग सम्बन्धित छ । जसले भीओआर/डीएमई उपकरण, कन्ट्रोल टावरमाथि राख्ने उपकरण, मौसम पूर्वानुमान उपकरण, वारुणयन्त्रमा आवश्यक पर्ने लगायतका उपकरण जडान गर्नुपर्ने हुन्छ । सडक योजनाका प्रमुख प्रदीपराज शाक्यले भैरहवास्थित लुम्बिनी गेट आसपास केही स्थानीयले घरअगाडि पर्ने भन्दै पोल गाडन नदिएकाले कामलाई निरन्तरता दिन नसकिएको बताए ।

अर्थ वाणिज्य

बूढीगंगाको डीपीआर बनेन

- मेनुका ढुंगाना

अछाम - अछाममा निर्माण हुन थालेको बूढीगंगा जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तथा वातावरणीय प्रभाव मूल्यांकन समेत तयार हुन सकेको छैन । गत माघमा जिल्लाका सरोकारवालासहितको बैठकमा २ महिनाभित्रै डीपीआर निर्माण भइसक्ने आयोजनाले बताएको थियो । आयोजना कार्यालयले बारम्बार डीपीआर निर्माणबारे गलत जानकारी दिने गरेको सरोकारवालाहरू बताउँछन् ।
डीपीआर तयार पार्ने जिम्मेवारी ०७२ असारमा अस्ट्रेलियन कम्पनी स्मेक इन्टरनेसनल प्राइभेट लिमिटेड र नेपालको उदय कन्सल्टेन्सीलाई दिइएको थियो । ती कम्पनीहरूले ०७३ पुसभित्र काम पूरा गर्ने गरी १९ करोड ९१ लाख ३३ हजारमा सम्झौता गरिएको थियो । म्याद सकिएको अढाइ वर्ष भइसक्दा पनि उनीहरूले डीपीआर तयार गरेका छैनन् ।
आयोजना प्रमुख सूर्यकुमार रिजालका अनुसार डीपीआर तयार गर्न अझै ६ महिना समय लाग्नेछ । ‘काम लगभग अन्तिम चरणमा छ । वन तथा वातावरण मन्त्रालयबाट डीपीआर स्वीकृत हुनुपर्ने प्रावधान रहेकाले फाइल विभागमै छ ।’ सबस्टेसन राख्ने ठाउँमा जग्गा अधिग्रहण गर्न बाँकी रहेको उनले बताए ।
सरकार आफैंले निर्माण गर्ने २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजनाको निर्माणका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भएको थियो । सन् १९९७ मा सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार ६ अर्ब अर्थात् ६० मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको थियो । आयोजना कार्यालयका अनुसार इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गरी आयोजनाको निर्माण विकासका लागि २०१४ जुनमा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ६ अर्ब नेपाली रुपैयाँको ऋण सम्झौता भइसकेको छ । त्यसैगरी २०१२ जुलाईमा कुवेत फबड फर अरब इकोनोमिक डेभलपमेन्टसँग ५ मिलियन कुवेती दिनार (१ अर्ब ८ करोड) ऋण सम्झौता भइसकेको छ । बाँकी रकम नेपाल सरकारले बेहोर्ने उक्त ऋण सम्झौतामा उल्लेख छ । यस जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा खपत हुने र बाँकी विद्युत् कैलालीको पहलमानपुरसम्म पुर्‍याएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ । ८ दशमलव ६४ हेक्टर क्षेत्रफल रहेको आयोजनाको मुख्य संरचनामा बाँध, इन्टेक, सेटलिङ, बेसिन, सुरुङ, सर्जट्यांक, विद्युत्गृह, टेलरेस, सबस्टेसन, प्रसारण लाइन आदि रहनेछन् ।

भौतिक विकास हुँदै
आयोजनाको कार्यालय आफ्नै भवनमा सारेपछि आयोजनाले अन्तरिक काम भने अघि बढाएको छ । भवन निर्माणको जिम्मा पाएको बीके ओल बिल्डर्स काठमाडौंलाई पटकपटक ताकेता गरेपछि सम्झौता भएको ३ वर्षमा ८ करोड ६८ लाखको लागतमा आयोजनाको कार्यालय र आवास भवन निर्माण भएको हो । आयोजनालाई आवश्यक पर्ने २९९ रोपनी जग्गासमेत अधिग्रहण गरेको साइट इन्चार्ज वीरबहादुर बोहोराले बताए । बोहोराका अनुसार बाँध क्षेत्रका लागि मेल्लेख गाउँपालिका ४ कुस्कोटमा करिब ३८ रोपनी र साँफेबगर नगरपालिका १३ बाब्लामा ३२ रोपनी जग्गा आयोजनाको नाममा सारिएको छ ।

अर्थ वाणिज्य

कर असुलीमा ढिलाइ

- जितेन्द्र साह

विराटनगर - रिचार्ज कार्डको कारोबारमा बिक्री बिल जारी नगरी विराटनगरका एक व्यवसायीले छलेको ८ करोड ६१ लाख ३४ हजार ८ सय ७१ रुपैयाँ कर अझै असुलिएको छैन । विराटनगर महानगरपालिका–७ शनिहाटस्थित जयबाबा सप्लायर्सका सञ्चालक ५४ वर्षीय सतीशकुमार जयसवालले २०६७ देखि २०७३ सम्म यति धेरै रकम कर छली गरेका हुन् ।
नियोजित रूपमा जयसवालले करोडौं रुपैयाँ कर छलेको निचोडमा पुगेको विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख दिलीपकुमार गौतमले कान्तिपुरलाई बताए । ‘नगद, सुनचाँदी र घरजग्गा परिवारका अन्य सदस्यको नाउँमा राखेर कारोबार गर्नुले पनि उनको धोखाधडीको नियत रहेको प्रस्टिन्छ,’ उनले भने, ‘जति प्रयास गरे पनि सम्पर्कमा आउन खोज्दैनन् ।’
व्यवसायी जयसवालले छलेको रकममा अहिलेसम्मकै ब्याज थपिँदा मूल्य अभिवृद्धि कर (भ्याट) ५ करोड ६० लाख १९ हजार ६ सय ५४ रुपैयाँ र आयकर ३ करोड १ लाख १५ हजार २ सय १७ रुपैयाँ बक्यौता पुगेको हो । व्यावसायिक दस्तावेजको अनुसन्धानमा जयसवालले कर छली अपराध गरेको खुलासा भएपछि एक वर्षदेखि उक्त कार्यालयले ऐनबमोजिम चरणबद्ध असुली प्रक्रिया अघि बढाएको छ ।
‘अब पनि जयसवालले राजस्व बुझाएनन् भने विभागलाई सम्पूर्ण फाइल जिम्मा लगाउने हो,’ गौतमले भने । उक्त कार्यालयले विभिन्न व्यक्ति र फार्मबाट उठाउन बाँकी कर बक्यौतामध्ये जयसवालसँग उठाउनुपर्ने रकम १४.३५ प्रतिशत हुन आउँछ । २०५४ सालदेखि अहिलेसम्म मूल्य अभिवृद्धि कर, आयकर र अन्तः शुल्कबापत उक्त कार्यालयले व्यवसायी एवं संस्थाबाट करिब ६० करोड रुपैयाँ राजस्व उठाउन बाँकी छ । उक्त कार्यालयले १३ जेठमा ६२ व्यावसायिक फार्म र व्यापारीविरुद्ध जारी गरेको १५ दिनभित्र कर दाखिला गर्ने सूचनामा पनि स्थायी लेखा नम्बर ३०१६४३७०२ भएको जयसवालको नाम एक नम्बरमा छ । उनी यो सूचीमा गत वर्ष पनि एक नम्बरमै थिए । जयसवालले नेपाल टेलिकम र एनसेलबाट खरिद गरेको रिचार्ज कार्ड, सिम एवं अन्य विविध सामग्रीलाई बिलबिनै बिक्री गर्दै आएका थिए ।

Page 16
समाचार

क्षतिपूर्ति कुर्दै परिवार

सर्लाही घटना
- कान्तिपुर संवाददाता

 

सर्लाही (कास)– प्रहरीको गोली लागेर मृत्यु भएका ईश्वरपुर–१३, गौरीशंकरका देवन भनिने सरोजनारायण महतोको परिवारले क्षतिपूर्ति पाएको छैन । घटनाको १० दिन बित्दा किरिया खर्च मात्र पाएको परिवारजनले गुनासो गरेका छन् ।


गौरीशंकरका १२ वर्षीय बालक अमित रायको बाँके खोलाको खाल्डोमा डुबेर मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा महतोको मृत्यु भएको थियो । दुवै घटनापछि आन्दोलनमा उत्रेका स्थानीयसँग ईश्वरपुर नगरपालिकाले छलफल गरी गोली लागेर मृत्यु भएका सरोजनारायणलाई सहिद घोषणा गर्न सिफारिस गर्ने, मृतककी पत्नीलाई वडा कार्यालयमा रोजगारी उपलब्ध गराउने, खोलामा डुबेर मृत्यु भएका अमितका परिवारलाई राहतस्वरूप ५ लाख रुपैयाँ उपलब्ध गराउने, प्रहरीको गोलीले घाइते स्थानीय राजकुमार महरालाई औषधोपचारका लागि ५० हजार नगद दिने लगायतका १४ बुँदे सहमति गरेको थियो । सहमति भएको एक साता बित्दासमेत किरिया खर्च मात्र पाएको मृतक महतोका दाजु मनोज सिंहको गुनासो छ । ‘किरिया खर्च पनि हिजो मात्र पाएँ,’ उनले भने, ‘२५ हजारमा किरिया सम्भव छैन ।’


खोलामा क्रसरले बनाएको खाल्डोमा डुबेर मृत्यु भएका बालक र प्रहरीको गोली लागेर मृत्यु भएका महतोको परिवारलाई ईश्वरपुर नगरपालिकाले मंगलबार किरिया खर्चबापत २५–२५ हजार रुपैयाँ दिएको हो । घाइते महरालाई औषधोपचारका लागि पनि २५ हजार रुपैयाँ दिइएको नगरपालिकाले जनाएको छ । बाँकी रकम चाँडै दिने नगरका मेयर मनोज देवकोटाले बताए । उनले गोली लागेर मृत्यु भएकाको हकमा मन्त्रिपरिषदको निर्णयअनुसार क्षतिपूर्ति पाउने हुनाले आफूले पहल गरिरहेको
जानकारी दिए ।


छानबिन माग
प्रहरी कारबाहीमा असार ५ गते मारिएका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलका आफन्तले निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । पौडेलका आफन्तले कुमारले नभई प्रहरीले नियन्त्रणमा लिएर मारेको आरोप लगाउँदै आएको छ । प्रहरीले भने भिडन्तमा कुमारको मृत्यु भएको दाबी गर्दै आएको छ । राज्यले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएकाले कुमारको परिवारले क्षतिपूर्तिसमेत पाउन सकेको छैन ।

समाचार

'अर्गानिक प्रदेश' मा भारतीय तरकारी निर्वाध

- चाँदनी कठायत
भारतीय बजारबाट बोरामा प्याक गरेर सुर्खेत ल्याइएको तरकारी । तस्बिर ः ज्योति कटुवाल/कान्तिपुर

(वीरेन्द्रनगर) - कर्णाली सरकारले अर्गानिक प्रदेश बनाउने मुख्य नीति अगाडि सारे पनि निर्वाध रूपमा भारतीय तरकारी तथा फलफूल भित्रिने क्रम बढ्दो छ । प्रदेश राजधानी सुर्खेतमा आयात हुने तरकारीको झन्डै तीन चौथाइ हिस्सा भारतीय तरकारीले ओगटेको छ । फलफूल तथा तरकारी व्यवसायी संघ, सुर्खेतका अनुसार माघदेखि जेठसम्म ४३ हजार ३ सय १६ क्विन्टल तरकारी भित्रिएकामा ३१ हजार ७ सय ७५ क्विन्टल भारतबाट आएको छ । ‘सरकारले अर्गानिक प्रदेश बनाउने भनेको छ तर हामी नै उपभोक्तालाई विषादीयुक्त तरकारी बेच्न बाध्य छौं,’ संघका अध्यक्ष टोपेन्द्रजंग शाहीले भने, ‘उपभोक्ताले भान्सामा विष पकाइरहेका छन्, नियमन गर्ने निकाय मौन छन् ।’


बनेन विषादी परीक्षण केन्द्र
विशेषगरी भारतबाट आउने तरकारीको विषादी परीक्षण गर्न प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कालिमाटीमा विषादी परीक्षण तथा द्रुत प्रयोगशाला केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । यसका लागि चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा पनि बजेट छुट्याइएको छ । केन्द्र स्थापनाको कामले भने गति लिन सकेको छैन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले कपुरकोटमा केही काम भए पनि हर्रेमा जग्गा नै व्यवस्था हुन नसकेको बताए । उनका अनुसार कपुरकोटमा कृषि उपज बजार सञ्चालक समितिले पूर्वाधारको काम गरिरहेको छ । साविकको जिल्ला कृषि विकास कार्यालय रहेको स्थानमा प्रयोगशाला बन्दै गरेको हो । कपुरकोट कृषि उपज बजार सञ्चालक समितिका सचिव तिलक शर्माले दुई तलाको भवन निर्माणाधीन रहेको जानकारी दिए । बजेट अभावमा ल्याब भने नबन्ने उनले बताए । ‘ल्याब बनिहाले पनि सञ्चालनका लागि तालिमप्राप्त व्यक्ति बाहिरबाट ल्याउनुपर्छ,’ उनले भने, ‘यसले थप जटिलता हुने देखिन्छ ।’


हर्रे कर्णालीमा भारतीय तरकारी आयात हुने प्रमुख नाका हो । रुपैडिया, नेपालगन्ज हुँदै तरकारी आइपुग्छ । हर्रेमा विषादी परीक्षण जरुरी रहे पनि जग्गा उपलब्ध नहुँदा चालु आवमा पूर्वाधार निर्माण हुन नसक्ने भएको छ । प्रदेश सरकारले विभिन्न सहकारीसँग कुरा गरे पनि जग्गाको व्यवस्था नभएको मन्त्रालयले जनाएको छ । ‘नगरपालिकासँग पनि मौखिक कुरा भएको हो,’ प्रवक्ता पण्डितले भने, ‘सार्वजनिक जग्गा भाडामा लिने ठाउँ पनि भएन । आगामी वर्ष नगरपालिकासँग समन्वय गरेर काम गर्छौं ।’ उनले वीरेन्द्रनगरमा पनि विषादी परीक्षण प्रयोगशाला केन्द्र स्थापनाका लागि आगामी आर्थिक वर्षदेखि काम गर्ने बताए । फलफूल तथा तरकारी व्यवसायी संघ अध्यक्ष शाहीले सरकारले विषादी प्रयोगशाला केन्द्र बनाउन ढिलाइ गर्दा उपभोक्ता विषादीयुक्त तरकारी खान बाध्य भएको बताए ।


अर्गानिक प्रदेशका लागि सबैभन्दा पहिला सरकारले भारतबाट आउने तरकारी रोकी विषादीरहित उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ । ‘परीक्षण केन्द्र राखेर मात्र हुँदैन, किसानलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहित गरिनुपर्छ,’ उनले भने ।


भारतीय उत्पादनको वर्चस्व
भारतसँग सीमा नजोडिएको प्रदेश भए पनि कर्णालीको बजारमा भारतीय तरकारी र फलफूलको वर्चस्व छ । संघका अनुसार पछिल्ला पाँच महिनामा भित्रिएको ३८ हजार १ सय ४ क्विन्टल फलफूलमध्ये भारतबाट मात्रै २७ हजार ३ सय ३ क्विन्टल (७१.६५ प्रतिशत) आएको छ । भारतबाट मसलादार कृषि उपज अझ बढी मात्रामा भित्रिने गरेको छ । पाँच महिनामा ३ हजार ५ सय क्विन्टल मसलादार तरकारी भित्रिएकामा ९२ प्रतिशत भारतबाट आएको अध्यक्ष शाहीले बताए ।


प्रदेश सरकारले अर्गानिक प्रदेश बनाउने निर्णय गरेको थियो । यसका लागि भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने र प्रदेशमा अर्गानिक तरकारी उत्पादनमा जोड दिने नीति तय गरिएको छ । त्यहीअनुसार चालु आर्थिक वर्षमा अर्गानिक प्रोत्साहनका लागि २ करोड, प्रांगारिक मल उत्पादनका लागि २ करोड, अर्गानिक बजारीकरणका लागि १ करोड ५० लाख बजेट विनियोजन गरेर काम गरिएको मन्त्रालयको भनाइ छ ।

Page 17
खेलकुद

प्लेयर्स टु वाच

- कान्तिपुर संवाददाता

मिचेल स्टार्क (अस्ट्रेलिया)


तीव्र गतिका बलर स्टार्कले ९ खेलमा ८३.२ ओभर बलिङ गर्दै यो विश्वकपमा अहिलेसम्मकै सर्वाधिक २६ विकेट लिएका छन््, जुन दोस्रो स्थानमा रहेका बंगलादेशी मुस्ताफिजुर रहमानको भन्दा ६ विकेट बढी हो । २९ वर्षीय उनले लर्डसमा न्युजिल्यान्ड र नटिङघममा वेस्ट इन्डिजसँग ५–५ विकेट लिएका थिए । उनले सेमिफाइनलमा इंग्ल्यान्डलाई पनि धरापमा पार्न सक्छन् ।

 

जोनी बेरिस्टो (इंग्ल्यान्ड)


घरेल टोली इंग्ल्यान्डलाई २७ वर्षपछि सेमिफाइनल पुर्‍याउन निर्णायकजस्तै मानिएका पछिल्ला दुई खेलमा शतक प्रहार गर्दै महत्त्वपूर्ण योगदान गरेका प्रारम्भिक ब्याटसम्यान हुन् बेरिस्टो । उनले भारतविरुद्ध १११ र न्युजिल्यान्डविरुद्ध १०६ रन बनाएका थिए । यो विश्वकपका ९ खेलमा उनले दुई शतक र दुई अर्धशतकसहित ४ सय ६२ रन बनाएका छन् ।

खेलकुद

परम्परागत प्रतिद्वन्द्वी भिड्दै

- एएफपी

म्यानचेस्टर – लगातार चार वर्षको योजना र कठिन मिहिनेतको वास्तविक परीक्षा हुने बेला भएको छ, जति बेला इंग्ल्यान्डले विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलियाको सामना गर्नेछ । सन् २०१५ को विश्वकपमा इंग्ल्यान्डको खराब प्रदर्शनपछि टिमको एकदिवसीय क्रिकेटप्रतिको सोचमै पुनर्विचार गरिएको थियो र त्यसैअनुसार काम पनि भयो । त्यस क्रममा इंग्ल्यान्डले एकदिवसीयलाई पनि टेस्ट क्रिकेटजत्तिकै महत्त्व दिएको थियो ।


अस्ट्रेलियाली प्रशिक्षक ट्रेभर बेयलिसले इंग्ल्यान्डलाई एकदिवसीय विश्वकपको उपाधि दिन सबैखाले योजना बुनेका हुन् । त्यसको नतिजा आखिरमा राम्रो पनि रह्यो, इंग्ल्यान्ड नम्बर एक टिम बन्यो नै । इयान मोर्गनको नेतृत्वलाई सबैले प्रशंसा पनि गरे । इंग्ल्यान्डको यो उत्थानका प्रमुख विशेषता रहेको छ, आक्रामक रूपमा रन बटुल्ने । इंग्ल्यान्डका लागि अहिले प्रारम्भिक ब्याट्सम्यान जोडी जोनी बेरिस्टो र जेसन रोयले यस्तै प्रदर्शन गरिरहेका छन् ।


इंग्ल्यान्डले आफ्नो सबैभन्दा पुरानो प्रतिद्वन्द्वीलाई हराउने हो भने त्यो जितमै मात्र पनि सीमित हुने छैन, त्यसको धेरै फरक अर्थ हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण अधिकार पाएको स्काईले इंग्ल्यान्ड फाइनलमा पुग्छ भने त्यसको प्रसारण बेलायतमा निःशुल्क गर्ने घोषणा गरेको छ । क्रिकेटको जन्मथलो इंग्ल्यान्डमै पैसा तिरेर क्रिकेट हेर्नेको संख्या घटेपछि स्काईले यस्तो प्रस्ताव राखेको हो । तय छ इंग्ल्यान्ड फाइनल पुग्यो भने जित इंग्लिस क्रिकेटकै हुनेछ । तर यो काम सजिलो भने हुने छैन । अस्ट्रेलियालाई लिएर एउटा तथ्य के भने यो टिम जति पटक सेमिफाइनल पुगेको छ, सबै अवसरमा विजयी रहेको छ, त्यसो भनेको सात पल्ट । त्यसमध्ये एक अवसरमा भने अस्ट्रेलियाले २० वर्षअगाडि एजबास्टनमै भएको खेलमा दक्षिण अफ्रिकासँग टाइ खेलेको थियो । त्यति बेला राम्रो नेट रनरेटका कारण अस्ट्रेलिया फाइनल पुगेको थियो । यसपल्ट समूह चरणमै पनि अस्ट्रेलियाले इंग्ल्यान्डलाई लर्डसमा गत महिना ४६ रनले हराएको थियो ।


त्यस खेलमा जेसन बिहरेन्डफ र माइकल स्टार्कले मिलेर एकापसमा ९ विकेट लिए । कप्तान आरोन फिन्चले शतकीय इनिङ्स खेले अनि इंग्ल्यान्डका बलर अस्ट्रेलियाली ब्याटिङ आक्रमणसामु फिक्का देखिए । त्यस खेलमा खेल्न नपाएका रोय भने संयोगले फेरि इंग्ल्यान्ड टिममा फर्केका छन् । उनले भारत र न्युजिल्यान्डविरुद्ध राम्रो पनि गरेका छन् । अस्ट्रेलियाविरुद्ध एउटा तथ्य खराब पनि छ । यो हो एजबास्टन मैदानमा सन् २००१ यता अस्ट्रेलियाले केही पनि जितेको छैन । टेस्टदेखि ट्वान्टी–२० क्रिकेटसम्म नै ।


यही मैदानमा अस्ट्रेलिया पछिल्लोपल्ट दक्षिण अफ्रिकासँग पनि लिग चरणको खेलमा १० रनले पराजित रहेको थियो । इंग्ल्यान्डलाई एकातर्फ बलिङमा स्टार्कलाई रोक्नुपर्नेछ भने अर्कोतर्फ अस्ट्रेलियाको माथिल्लो क्रमका आक्रामक ब्याटिङ क्रम पनि निस्तेज पार्ने चुनौती हुनेछ । इंग्लिस पेसम्यान लिएम प्लुन्केट भन्छन्, आफ्नो टिम सेमिफाइनल जस्तो ठूलो अवसरमा आफूलाई सिद्ध गर्न तयार छ । उनी दाबी गर्छन्, ‘हामी पहिले इंग्लिस टिम जस्तो होइनौं, हामी वास्तवमै फरक छौं ।’

खेलकुद

दाबेदार भारत न्युजिल्यान्डसँग स्तब्ध

- एएफपी

म्यानचेस्टर – भारतलाई अविश्वसनीय हार चखाउँदै न्युजिल्यान्ड लगातार दोस्रोपल्ट एकदिवसीय विश्वकपको फाइनल पुगेको छ । बुधबार ओल्ड ट्राफोर्डमा इनिङ्सको अन्त्यतिर रवीन्द्र जडेजाको विष्फोटक ब्याटिङ झेलेको न्युजिल्यान्डले १८ रनको जित हासिल गरेको हो ।
विश्वकपको ‘अन्डरडग’ टिम न्युजिल्यान्डको समग्र प्रदर्शन सानदार थियो । लिग चरणको अन्तिम ३ खेलमा पाकिस्तान, अस्ट्रेलिया र इंग्ल्यान्डसँग लगातार पराजित भए पनि नेट रनरेटको आधारमा चौथो स्थानमा रहेर न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाएको थियो । १० टोलीसम्मिलित विश्वकपको राउन्ड रोबिन लिग चरणमा २ खेलमात्र हारेको भारत शीर्षस्थानमा रहेर अन्तिम चारमा पुगेको हो ।
न्युजिल्यान्डले उपाधिका लागि बिहीबार बर्मिङ्घममा हुने साबिक विजेता अस्ट्रेलिया र घरेलु टोली इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सन् २०१५ को फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्ने अस्ट्रेलियाले पहिलोपल्ट विश्वकप जित्ने अभियानमा रहेको इंग्ल्यान्डविरुद्ध खेल्नेछ । विश्वकपको फाइनल आइतबार लर्ड्समा हुनेछ ।
‘हामीलाई थुप्रै प्रश्नको जवाफ एकैपल्ट दिनु थियो । हामी के कुरामा निश्चित थियौं भने यदि हामीले लगातार दबाब बनाउन सक्यौं भने हामीलाई अवसर हुनेछ । किनभने यो पिचमा स्कोर गर्नु सजिलो काम होइन,’ म्यान अफ द म्याच न्युजिल्यान्डका म्याट हेनरीले भने, ‘हामी हाम्रो क्षमताप्रति गर्व गछौं । उनीहरूसँग विश्वस्तरीय फिनिसरहरू थिए । तर हामीलाई थाहा थियो कि खेल जित्न उनीहरूलाई आउट गर्नुपर्छ । आइतबार लर्ड्समा विशेष दिन हुनेछ ।’
दुईपल्टको विश्व विजेता भारतले आफ्ना महत्त्वपूर्ण ब्याट्सम्यान रोहित शर्मा, लोकेश राहुल र कप्तान विराट कोहलीलाई समान १ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । २ सय ४० रनको लक्ष्य पछ्याएको भारतले ५ रन बनाउँदा उनीहरू आउट भइसकेका थिए । दिनेश कार्तिक चौथो विकेटका रूपमा ६ रन बनाएर आउट हुँदा भारतले १० ओभरमा २४ रन जोडेको थियो । न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरी (३७–३) र ट्रेन्ट बोल्ट (४२–२) ले नयाँ बलमार्फत शीर्षक्रम ध्वस्त पारेका हुन् ।
भारतीय कप्तान कोहलीले टिमले निराशाजनक सुरुआतको मूल्य चुकाउनुपरेको बताए । ‘४५ मिनेटको खराब क्रिकेटले हामीलाई प्रतियोगिताबाट बाहिर पुर्‍याइदिएको छ । स्वीकार गर्न कठिन छ तर न्युजिल्यान्ड यसको हकदार थियो । उनीहरूले हामीमाथि दबाब बढाए र महत्त्वपूर्ण समयमा विकेट लिन सफल रहे,’ कोहलीले भने, ‘हाम्रा ब्याट्सम्यानको शट छनोट अझै राम्रो हुन सक्थ्यो । त्यसबाहेक हामीले राम्रो क्रिकेट खेल्यौं र जसरी खेल्यौं त्यसमा मलाई गर्व छ ।’
मुख्य दाबेदारमध्ये एक भारतले ९२ रन बनाउँदा ६ विकेट गुमायो । त्यसपछि रवीन्द्र जडेजा र भेट्रान खेलाडी तथा पूर्व कप्तान महेन्द्रसिंह धोनी ब्याटिङ गर्न आए । उनीहरूले कीर्तिमानी १ सय १६ रनको सातौं विकेट साझेदारी गरी भारतको आस जगाएका हुन् । अलराउन्डर जडेजा विष्फोटक ब्याटिङ गरी ७७ रनमा आउट भए । ३९ बलमा अर्धशतक प्रहार गर्ने क्रममा जडेजाले जिम्मी निसम र देब्रेहाते अफ स्पिनर मिचेल सान्टनरको बलमा छक्का प्रहार गरेका थिए ।
भारतलाई १० ओभरको खेल बाँकी हुँदा १ सय ५० रन आवश्यक थियो । इनिङ्सको अन्तिम ६० बलमा ९० रन आवश्यक भयो । लोकी फर्गुसनको बलमा अफसाइडमा छक्का प्रहार गरी जडेजाले रनअन्तर कम गर्ने प्रयास गरे । भारतलाई अन्तिम ५ ओभरमा ५२ रन आवश्यक थियो । तर सानदार जितको रेखा कोरेको भारत जडेजाको अप्रत्यासित विकेट पतनसँगै लड्खडाउन पुग्यो । ठूलो शट खेल्न खोज्दा ट्रेन्ट बोल्टको बलमा लङअफमा कप्तान केन विलियम्सनको हातबाट क्याचआउट हुनुअघि जडेजा ५९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।
पूर्व भारतीय ब्याट्सम्यान सञ्जय मान्जेरकरले टीटरमार्फत एक औसत खेलाडीको आरोप लगाएका जडेजाले आफूलाई फेरि प्रमाणित त गरे तर टिमलाई जितसम्म पुर्‍याउन नसक्दा उनको प्रदर्शन निरर्थक रह्यो । बायाँहाते अफ स्पिनर जडेजाले बलिङतर्फ ३४–१ को उत्कृट प्रर्दशन गरेका थिए ।
२ ओभरमा ३१ रन आवश्यक हुँदा लोकी फर्गुसनको अन्तिम ओभरको पहिलो बलमा धोनीले छक्का प्रहार गर्दा रंगशालामा उपस्थित र टेलिभिजन हेरिरहेका लाखौं भारतीय समर्थकमाझ खुसियाली छायो । तर स्ट्राइक आफूसँगै लिने चक्करमा २ रन लिन खोज्दा सन् २०११ को विश्वविजेता भारतीय टोलीका कप्तान धोनी मार्टिन गुप्टिलद्वारा रनआउट भए । उनले ७२ बलमा ५० रन प्रहार गरे ।
भारतलाई अन्तिम ओभरमा २३ रन आवश्यक थियो । पहिलो बलमा युजभेन्द्र चहलले जिम्मी निसमलाई चौका प्रहार गरे । तर इनिङ्सको ३ बल बाँकी हुँदैमा भारत अलआउट भयो । न्युजिल्यान्डले अविस्मरणीय जित हासिल गर्‍यो ।
जारी विश्वकपमा ५ शतक प्रहार गरी कीर्तिमान रचेका भारतीय ओपनर रोहित शर्मा हेनरीको बलमा कट बिहाइन्ड भएसँगै भारतको विकेट पतन सुरु भएको हो । बायाँहाते तीब्र गतिका बलर ट्रेन्ट बोल्टले सानदार इनस्वीङ बलिङमार्फत कप्तान विराट कोहलीलाई एलबीडब्लू धरापमा पारे । कोहलीले भिडियो रिभ्यूको माग गरे । थर्ड अम्पायर रिचार्ड इलिङवर्थले अम्पायरको निर्णयलाई सदर गरिदिए । हेनरीकै बलमा लोकेश राहुललाई विकेटकिपर टम लाथमले सानदार डाइभिङ क्याचमार्फत आउट गरेपछि भारत ५–३ को कमजोर स्थितिमा पुगेको थियो । त्यस समयमा भारतले १० बलमा १ रन जोड्दा ३ विकेट गुमाएको थियो ।
हेनरीकै बलमा निसमले प्वाइन्ट क्षेत्रमा उत्कृष्ट एकहाते क्याच लिएपछि दिनेश कार्तिक पनि लामो समय क्रिजमा बस्न पाएनन् । ऋषभ पन्त ३२ रन बनाएर आउट भए । सान्टनरको बलमा डिप मिडविकेट क्षेत्रमा कोलिन डी ग्रान्डहोमले क्याचआउट गराएका हुन् । हार्दिक पान्ड्ये पनि ३२ रन बनाएरै आउट भएपछि भारतलाई अर्को झट्का लाग्यो । सान्टनरले उनलाई मिडविकेट क्षेत्रमा कप्तान विलियम्सनको हातबाट आउट गराएका हुन् ।
मंगलबार वर्षाले स्थगित भएपछि बुधबार खेलाइएको खेलमा २३ बलको बाँकी इनिङ्समा न्युजिल्यान्डले २८ रन जोडेर २३९–८ को योगफल खडा गरेको थियो । मंगलबार खेल स्थगित हुँदा ६७ रन बनाएर क्रिजमा रहेका रस टेलर ७४ रन बनाएर आउट भए । मंगलबार टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डका लागि कप्तान विलियम्सनले कठिन कन्डिसनमा ६७ रनको महत्त्वपूर्ण इनिङ्स खेलेका थिए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए ।


स्कोर कार्ड

न्युजिल्यान्ड १८ रनले विजयी

न्युजिल्यान्ड
५० ओभर २३९/८
रस टेलर–७४
केन विलियम्सन–६७
हेनरी निकोल्स–२८

भुवनेश्वर कुमार ३/४३
जसप्रित बुमराह १/३९

भारत
४९.३ ओभर–२२१/१०
रविन्द्र जडेजा–७७
महेन्द्र सिंह धोनी–५०
ऋषभ पन्त–३२

म्याट हेनरी ३/३७
मिचेल सान्टनर २/३४

खेलकुद

तीन निर्णायक तत्त्व

- एएफपी

बर्मिङ्घम – आयोजक इंग्ल्यान्डले बिहीबार विश्वकपको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाको सामना गर्दै छ । इयान मोर्गनको इंग्ल्यान्डले लिग चरणका ९ मध्ये ६ खेल जितेर आफूलाई बलियो साबित गरेको छ । अस्ट्रेलिया पनि अन्तिम चारमा स्थान बनाउने पहिलो टिम थियो । यिनै दुई टिम एजबास्टनमा भिड्दा दोस्रो सेमिफाइनलका तीन निर्णायक हुनेछन्, यी तत्त्व :


मोर्गनविरुद्ध फिन्च
एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डको पुनरुत्थानयता नेतृत्वमा छन् इयान मोर्गन । यसबीचमा इंग्ल्यान्ड एकदिवसीय वरीयताको शीर्षस्थानमा मात्र पुगेन, यसपल्टको विश्वकपको सेमिफाइनल पुगेर २७ वर्षे खडेरी पनि तोड्यो । लिग चरणमा केही खराब प्रदर्शनपछि ३२ वर्षीय मोर्गनले आफ्ना घरेलु समर्थक र खेलका पण्डितलाई के निश्चित पारेका छन् भने अब इंग्लिस टिम अब दबाबमा झुकेर खेल्ने टिम रहेन । त्यसैक्रममा हो त इंग्ल्यान्डले भारत र न्युजिल्यान्डलाई लगातार हराएर देखाएको । आरोन फिन्चले पनि कुराभन्दा आफ्नो ब्याट नै बढी चलाएका छन् । उनकै केही उत्कृष्ट प्रदर्शनमा टिकेर अस्ट्रेलिया विश्वकपका पछिल्ला सातमध्ये छैटौंपल्ट सेमिफाइनल पुग्न सफल भएको छ । यी प्रारम्भिक ब्याट्सम्यानले यस विश्वकपमा ५ सय ७ रन जोडिसकेका छन् ।


त्यसमा दुई शतक र दुई अर्धशतक सामेल छ । पाँचपल्टको विश्वकप विजेताले लिग चरणका ९ खेलमध्ये ७ मा जित निकालेको छ । १० टिमसम्मिलित प्रतियोगितामा दोस्रो भएको छ । अबको प्रश्न हो, के मोर्गनले इंग्ल्यान्डलाई एक अर्को जितका लागि प्रेरित गर्न सक्छन् कि अस्ट्रेलियाले लिग चरणमा जस्तै आफ्नो पुरानो प्रतिद्वन्द्वीमाथि सजिलो जित निकाल्ने छ ?

बेरिस्टोविरुद्ध वार्नर
इंग्ल्यान्डको पुनरुत्थानका एक महत्त्वपूर्ण पात्र हुन् जोनी बेरिस्टो । उनकै खेलले इंग्ल्यान्ड अन्त्यतिरका प्रमुख खेलमा विजयी रह्यो । उनले दुई प्रभावशाली शतक प्रहार गरिसकेका छन् । त्यसै कारण इंग्ल्यान्ड सेमिफाइनल पुगेको पनि हो । भारतविरुद्ध १ सय ११ बनाएयता बेरिस्टोले न्युजिल्यान्डविरुद्ध अर्को शतक पनि बनाए ।


जेसन रोयसँग फेरि प्रारम्भिक विकेटका लागि साझेदारी गर्ने मौका पाएका बेरिस्टो अस्ट्रेलियाका लागि एजबास्टनमा ठूलो चुनौती हुन सक्छन् । बायाँहाते ब्याट्सम्यान डेविड वार्नर सन् २०१९ को आईपीएलमा बेरिस्टोसँगै सनराइजर्स हैदराबादमा थिए । दुवै उत्तिकै राम्रो खेले । त्यसयता वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका छन् ।


उनी त्यसअगाडि बल टेम्परिङमा एक वर्षको प्रतिबन्धमा फसेका थिए । वार्नरले ६ सय ३८ रन बनाइसकेका छन् र त्यसमा तीन/तीन शतक र अर्धशतक सामेल छ । इंग्ल्यान्डलाई राम्रोसँग थाहा छ, यी वार्नर कति घातक खेलाडी हुनसक्छन् भनेर । उनलाई सस्तोमै आउट गर्न सकिएन भने निकै महँगो साबित हुने खेलाडी हुन् यिनी ।

स्टार्कविरुद्ध आर्चर
यस विश्वकपमा अस्ट्रेलियाका लागि सबैभन्दा घातक प्रमुख अस्त्र साबित भएका छन् मिचेल स्टार्क । उनले १९.२ को औसतले २६ विकेट लिइसकेका छन् । यी बायाँहाते बलर इनिङ्सको सुरुमै विकेट लिन माहिर छन् । यसले विपक्षी टिमको रन बनाउने क्रमलाई रोक्न पनि निर्णायक साबित भएको छ ।


स्टार्क उत्तिकै घातक साबित हुने हो भने त्यसले इंग्ल्यान्डको माथिल्लो क्रममा समस्या पर्न सक्छ । जोफ्रा आर्चर २४ वर्षका भए र उनले क्रिस वोक्ससँग मिलेर इंग्लिस बलिङ आक्रमणको जिम्मा लिइरहेका छन् । नयाँ बलमा यी दुई सटिक देखिन्छन् । बार्बाडोसमा जन्मेर इंग्ल्यान्डका लागि खेलिरहेका स्टार्कले १७ विकेट लिइसकेका छन् । निकै सटिक पेसमा उनी लगातार बलिङ गर्न माहिर छन् । त्यसैले उनी मोर्गनका लागि प्रमुख खेलाडी हुन् । यिनैको बलिङविरुद्ध वार्नर, फिन्च र स्टिभ स्मिथले कसरी खेल्नेछन् त्यसले खेलको मोड तय गर्नेछ ।

Page 18
खेलकुद

बजेट सक्न बर्खामा मुख्यमन्त्री कप

सहिद मैदान जलमग्न भएपछि धरान सारियो
- विनोद भण्डारी
जलमग्न विराटनगरस्थित सहिद मैदान । यस मैदानमा बिहीबारदेखि मुख्यमन्त्री कप प्रदेश लिग गर्ने तयारी थियो । तस्बिर ः लीलाबल्लभ घिमिरे/कान्तिपुर

(विराटनगर) - बजेट सक्न मुलुकभर असारे विकासका काम धमाधम भइरहँदा आलोचना बढिरहेको छ । प्रदेश १ मा पनि बजेट सिध्याउनकै लागि असारे विकास मात्र नभएर खेलकुदमा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको लागि प्रदेश सरकारले १ करोड र अखिल नेपाल फुटवल संघ (एन्फा) ले ३३ लाख रुपैयाँ आयोजक समितिलाई दिएको छ । आयोजक समितिले यो बजेट असार मसान्तसम्म सिध्याउनै पर्नेछ ।


बजेट सिध्याउनै आयोजकले असार १६ देखि प्रदेशका १४ जिल्लाका १४ क्लबबीच पहिलो चरणको लिग आयोजना गर्‍यो । गाईघाटमा असार १६, धरानमा असार १७ र इलाममा असार १८ देखि पहिलो चरणको लिग सकेर दोस्रो चरणको लिगका लागि ६ टिम छनोट गरेको छ । दोस्रो चरणका लागि छनोट भएका धरान फुटबल क्लब सुनसरी, बौद्धिक विकास समाज समिति धनकुटा, बेलबारी फुटबल क्लब मोरङ, सैनिक युथ क्लव झापा, बाक्सिला फुटबल क्लव खोटाङ र रेडहर्स फुटबल क्लब इलामबीचको सुपर सिक्स बिहीबारदेखि विराटनगरस्थित सहिद रंगशालामा गर्ने आयोजकको तयारी थियो ।


तर मंगलबार रातिको भारी वर्षाले सहिद रंगशालामा बुधबार एक फिटभन्दा बढी पानी जमेपछि शुक्रबारदेखि धरानमा खेलाइने निर्णय आयोजकले गरेको छ । सहिद मैदानमा खेल सञ्चालन गर्न आयोजकले करिब डेढ लाख रुपैयाँ मैदान मर्मतमा खर्च गरेको थियो ।प्रदेश सरकारले कार्यविधि ढिलो तयार गर्दा प्रतियोगिता मध्य असारमा गर्नुपरेको आयोजक समितिका अध्यक्ष एवं एन्फाका प्रवक्ता किरण राईको भनाइ छ । ‘प्रतियोगिता नगर्दा बजेट नै फ्रिज हुने भयो,’ प्रवक्ता राईले कान्तिपुरसँग भने, ‘त्यसैले बजेट फ्रिज हुन नदिन प्रतिकूल मौसममा पनि प्रतियोगिता गर्नैपर्‍यो ।’ मौसमले प्रतियोगितालाई खासै प्रभाव नपारेको राईको दाबी छ । ‘बर्खा हो पानी पर्छ नै,’ उनले भने, ‘पहिलो चरणको लिगबाट छनोट ६ टिमबीचको लिग विराटनगरमा गर्ने तयारी थियो । तर मैदानमा पानी जमेकाले धरानमा गर्ने निर्णय गरिएको हो ।’ उनले यो प्रतियोगितालाई असारे विकाससँग दाँज्न नमिल्ने बताउँदै प्रतिकूल मौसममा पनि प्रतियोगिता गर्नु खेलकुदमा गौरव विषय भएको बताए ।


उनका अनुसार आगामी वर्षदेखि प्रतियोगिता अनुकूल मौसममा आयोजना गरिने छ । प्रतिकूल मौसमकै कारण यस वर्ष आयोजना गर्ने भनिएको मुख्यमन्त्री अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता भदौ–असोजमा सारिएको छ । राईले भने, ‘पैसा सक्न प्रतियोगिता गरिएको भए मुख्यमन्त्री अन्तर्राष्ट्रिय नकआउट फुटबल पनि अहिले नै हुन्थ्यो त ।’ प्रतियोगिताका लागि प्रदेश सरकारको १ करोड र एन्फाको ३३ लाख बजेटबाट १४ टिमलाई खानबस्न र यातायातका लागि ३३ लाख, टिम तयारी खर्च ७ लाख, १४ टिमलाई १५ थानका दरले बल उपलब्ध गराउँदा ५ लाख, चार स्थानको खेलस्थल मर्मतका लागि १२ लाख, प्रचारप्रसार, स्वयंसेवक परिचालन, आकस्मिक स्वास्थ्य र मसलन्द खर्चमा ५ लाख, पुरस्कारतर्फ २० लाख, रेफ्री र अन्य प्राविधिक परिचालनमा १० लाख, पदाधिकारी यातायात र परिचालनमा ५ लाख र अतिथि सत्कारमा ३ लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष राईले बताए ।


पहिलो चरणको लिग म्याचमा गाईघाटमा मोरङ, खोटाङ, उदयपुर, ओखलढुङगा र सोलुखुम्बु, धरानमा सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा तथा इलाममा झापा, इलाम, पाँचथर र ताप्लेजुङले प्रतिस्पर्धा गरेका थिए ।पहिलो चरणबाट छनोट ६ टिमबीचको सुपर सिक्सको पहिलो र दोस्रो स्थानमा रहने टिमबीच असार ३१ मा फाइनल गरिने खेलतालिका छ । प्रतियोगितामा सबै विधामा गरी २० लाख रुपैयाँ पुरस्कार वितरण गरिने छ । उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट डिफेन्स, फरवार्ड, गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिग विजेताले ५ लाख र ४ किलो चाँदीको रनिङ कप जित्ने छन् ।

खेलकुद

सेरेना उपाधितर्फ केन्द्रित

विम्बल्डन ओपन
- एएफपी
आफ्नै देशकी एलिसन रिस्केलाई विम्बल्डन टेनिसको क्वाटरफाइनलमा हराएपछि अमेरिकी सेरेना विलियम्स । तस्बिर ः एपी

लन्डन – सेरेना विलियम्स बिनापीडा राम्रो अवस्थामा रहेकाले विम्बल्डन ओपनको उपाधि जित्न शतप्रतिशत केन्द्रित रहेको उनका प्रशिक्षक प्याट्रिक मोउरातोग्लोउले बुधबार बताएका छन् ।
बच्चा जन्माएपछि ३७ वर्षीया सेरेना कडा मिहिनेत गर्दै पुनरागमन गरिरहेकी छन् । थुप्रै चोटको समस्याबाट गुज्रिएकी उनी प्रशिक्षकका अनुसार मार्गरेट कोर्टको कीर्तिमान २४ ग्रान्डस्लाम उपाधि बराबरी गर्ने लक्ष्यमा रहेकी छन् । अमेरिकी खेलाडीको ‘ट्रेडमार्क’ शैलीको खेल चाखलाग्दो रूपमा अर्को तहमा फर्किएको छ । उनले फेरि पनि आफ्नो लय समातेको प्रशिक्षकले बताए ।


११ औं वरीयताकी सेरेनाले सेमिफाइनलमा बिहीबार ५४ औं विश्व वरीयताकी चेक गणतन्त्रकी बारबोरा स्ट्रेकोभाको सामना गर्नेछिन् । ‘यो क्षणमा उनी राम्रो अवस्थामा छिन् । उनी खुसी छन्,’ प्याट्रिकले भने, ‘उनका पति यहाँ छन् । उनका छोरी यहाँ छिन् । उनी अहिले तीन साताका लागि पीडारहित अवस्थामा छिन् ।’ ‘हरेक दिन पीडामा केन्द्रित हुँदा प्रतियोगितामा तयारी गर्नका लागि धेरै कठिन हुन्छ,’ प्रशिक्षक प्याट्रिकले भने, ‘पीडासहित प्रतिस्पर्धा गरेको अवस्थामा खेलमा केन्द्रित हुन गाह्रो हुन्छ किनभने पीडित भएको अवस्थामा हुन्छ । अब अवस्थामा फरक छ । जब उनले खेलिरहेकी हुन्छिन्, त्यस बेला उनी खेल र जितप्रति शतप्रतिशत केन्द्रित भइरहेकी हुन्छिन् । उनले आफ्नो स्तर आवश्यक भएको बेला उकासेकी छन् । त्यो उनको ट्रेडमार्क हो । उनी फर्किएकी छिन् । त्यसैले सबथोक सकारात्मक छ ।’


४९ वर्षीय यी ग्रिक–फ्रेन्च प्रशिक्षकले सेरेनासँग सन् २०१२ यता निरन्तर सहकार्य गरिरहेका छन् । यो सहकार्यले अमेरिकी खेलाडीको ग्रान्डस्लामको सिंगल्समा २३ उपाधिमध्ये १० वटा हात पारेको छ । अस्ट्रेलियाली महान् खेलाडी कोर्टले सन् १९६० देखि १९७३ सम्मको अवधिमा २४ ग्रान्डस्लाम जितेकी थिइन् । प्याट्रिकले सेरेना सुरुबाटै बिम्बल्डन जित्दै कोर्टको सफलतालाई उछिन्नेमा केन्द्रित भएकी बताएका छन् । ‘त्यसैका लागि उनी बच्चा जन्माएर स्वास्थ्यमा थुप्रै समस्या बाबजुद पनि टेनिस खेल्न फर्किएकी हुन् । उनी जसरी ऊर्जा लगाएकी छन्, यस्तो मैले कहिल्यै देखेको थिएन । त्यो स्तरमा फर्किन उनले गरेको कठिन मिहिनेतबारे तपाईलाई कुनै आइडिया छैन । उनी त्यसैका लागि फर्किएकी हुन् । यो उनका लागि सम्भवत् धेरै हुनेछ, जब सफलता पाउने छिन् ।’


सातपल्टकी बिम्बल्डन च्याम्पियन सेरेनाले घुँडाको समस्याको कारण फ्रेन्च ओपन गुमाएकी थिइन् । त्यसका लागि उनले पेरिसका चिकित्सकसँग निश्चित गरेकी थिइन् । प्रशिक्षकले उनलाई खेलको अभ्यास कम भएर पनि बिम्बल्डनका लागि तयार गरेको हुनसक्छ । ‘उनी राम्रो तयारीमै रहेकी भए पनि उनले पहिलो खेलमा राम्रो टेनिस खेलेकी छैनन् । उनी धेरै समय लय समात्नै संघर्षरत थिइन्,’ प्रतिद्वन्द्वीहरू बाहिरिइरहेकोबारे उनले भने, ‘हरेक खेलपछि मलाई त्यो थाह छ । उनी राम्रोमाथि राम्रो भइरहेकी छन् ।’


बिहीबारै अर्को सेमिफाइनलमा सातौं वरीयताकी सिमोना हालेपले आठौं स्थानकी एलिना स्भितोलिनाविरुद्ध प्रतिस्पर्धा गर्दै छिन् ।

खेलकुद

कर्मचारीसँग वाचा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेश सिलवालले वषौंदेखि करार र अस्थायी रूपमा कार्यरत कर्मचारीको समस्या छिटै समाधान हुने आश्वासन दिएका छन् । परिषदमा दशकदेखि कार्यरत करार तथा अस्थायी कर्मचारीले स्थायीको माग राख्दै आन्दोलन गरिरहेका छन् । बुधबार राखेप करार तथा अस्थायी कर्मचारी संघले गरेको नयाँ सदस्यसचिवको स्वागत र निवर्तमान सदस्यसचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सिलवालले एक वर्षभित्र समस्या समाधान गरी कर्मचारीको संघर्ष समिति भंग गर्ने उद्घोष गरे ।


‘तपाईहरूको स्थायी हुनुपर्ने मागका विषयमा धेरै लामो समय कुर्नुपर्दैन । मैले समस्याबारेमा विभागीय प्रमुखसँग छलफल गरिसकेको छु । यसै वर्षभित्र समस्या हल गरेर स्थायी हुनुपर्ने माग राख्दै गठन गरेको संघर्ष समिति भंग गर्नेछौं,’ उनले भने ।
सदस्यसचिव सिलवालले आफूलाई भेट्न आउँदा समस्या मात्र नभई त्यसको उपाय पनि सँगै लिएर आउन निर्देश गर्दै कर्मचारीको उचित सुझाव भए धाउनुपर्ने ठाउँमा आफू स्वयं धाउने प्रतिबद्धता जनाए ।


निवर्तमान सदस्य–सचिव विष्टले करार कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया पूरा गर्न आफूले चार समिति गठन गरेको जानकारी दिँदै नयाँ सदस्यसचिवले प्रक्रिया पूरा गर्ने विश्वास व्यक्त गरे । साथै उनले पदमा नरहे पनि खेलकुदबाट टाढा नभएको प्रस्ट पारे । ‘खेलकुदभन्दा बाहिर जान्न । यही क्षेत्रमा योगदान दिन प्रयासरत रहन्छु,’ विष्टले भने, ‘शिर ठाडो पारेर आएको थिएँ, त्यसैगरी जाँदै छु । ४ वर्षमा मैले पूरा गर्न नसकेका काम नयाँ सदस्यसचिवले फत्ते गर्नुहुनेछ ।’


राखेप करार तथा अस्थायी कर्मचारी संघका अध्यक्ष काजीमान श्रेष्ठले स्थायी हुनुपर्ने लामोदेखिको माग वर्तमान दस्यसचिवको कार्यकालमा पूरा हुने विश्वास व्यक्त गरे ।

खेलकुद

मोरेनो स्पेन फर्किए

- बीबीसी

लन्डन – भिलारिएलले लिभरपुलका पूर्व डिफेन्डर अल्बर्टो मोरेनोलाई अनुबन्ध गरेको छ । मोरेनोले स्पेनी टिमसँग पाँचवर्षे सम्झौता गरेका हुन् । स्पेनबाट पाँच अन्तर्राष्ट्रिय खेल खेलेका २७ वर्षीय उनलाई एन्फिल्डमा पाँच सिजन बिताएपछि गत महिना लिभरपुलले फुकुवा गरेको थियो । उनले लिभरपुलका लागि १ सय ४१ खेल खेले । उनी अगस्ट २०१४ मा सेभियाबाट एनफिल्ड पुगेका थिए । दुई सिजन लेफ्ट ब्याकको पहिलो रोजाइमा रहेका उनले आफ्नो स्थान जेम्स मिल्नरलाई गुमाएका थिए र त्यसपछि एन्डी रोबर्टसनले त्यो स्थान लिए । उनले पछिल्लो सिजन पाँच खेलमात्र खेले । योर्गन क्लोपको टिमले च्याम्पियन्स लिग फाइनलमा टोटेनहमलाई पराजित गर्दा उनी सब्स्टिच्युट खेलाडी सूचीमा थिए । म्याड्रिडमा सफलता हात पार्दै लिभरपुल छैटौंपल्ट युरोपेली च्याम्पियन भएको थियो ।


लेस्टरमा युरी
लेस्टरले बेल्जियन मिडफिल्डर युरी टिलेमेन्सलाई मोनाकोबाट चारवर्षे सम्झौतामा भित्र्याएको छ । रकम सार्वजनिक नगरिए पनि उनको स्थानान्तरण क्लबको कीर्तिमान ४ करोड पाउन्ड भएको अनुमान गरिएको छ । २२ वर्षीय टिलेमेन्सले गत सिजन लोनमा प्रिमियर लिग लेस्टरबाटै खेलेका थिए । उनले १३ खेलमा ३ गोल गर्दै ४ गोलमा पास दिएका थिए । उनले एन्डरलेचबाट करिअर सुरु गरेका हुन् । त्यस क्लबमा उनी च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कम उमेर (१६ वर्ष १४८ दिनको छँदा ओलम्पियकोसविरुद्ध अक्टोबर २०१३) का बेल्जियन खेलाडी बनेका थिए । चार सिजन खेल्दा दुईपल्ट बेल्जियन लिगको उपाधि जितेपछि उनी करिब २ करोड २० लाख पाउन्डमा २०१७ मा मोनाको पुगेका थिए । उनले लिग वान टिमका लागि ६५ खेलमा ६ गोल गरे । विश्वकपसहित बेल्जियमका लागि २३ क्याप जितेका उनी यो स्थानान्तरणमा लेस्टरमा आबद्ध हुने तेस्रो खेलाडी हुन् ।

खेलकुद

ईश्वर र आइसा उत्कृष्ट

- कान्तिपुर संवाददाता

म्याग्दी (कास)– बेनी नगरपालिकास्थित न्यु वेस्ट प्वाइन्ट आवासीय माविले सर्वाधिक पदक जित्दै विद्यालयस्तरीय पाँचौं राष्ट्रपति सिल्ड उचालेको छ । बुधबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, ३ रजत, ११ कांस्य पदकसहित वेस्ट प्वाइन्टले सिल्ड हात पारेको हो । १० स्वर्ण, २ रजत, ९ कांस्यसहित बेनीका माउन्ट एभरेस्ट आमावि दोस्रो र प्रकाश माविले ७ स्वर्ण, १ रजत र २ कांस्यसहित तेस्रो स्थानमा चित्त बुझाए । ४ स्वर्ण र १ कांस्यसहित वेस्ट प्वाइन्टका ईश्वर सेन्चुरी र वेस्टकै आइसा केसी ३ स्वर्णसहित उत्कृष्ट खेलाडी भए । स्पर्धामा छात्र/छात्रा भलिबल, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न खेल समावेश थियो । पहिलो, दोस्रो र तेस्रो स्कुलले क्रमशः १५, १२ र ९ हजार रुपैयाँ पाए ।

खेलकुद

पाँचथरमा मुवाँथाई सुरु

- कान्तिपुर संवाददाता

पाँचथर (कास)– पाँचथरमा प्रदेश नम्बर १ स्थरीय प्रथम मुवाँथाई प्रतियोगिता बुधबार सुरु भएको छ । असार २७ सम्म फिदिममा हुने प्रतियोगितामा प्रदेश १ का १ सय खेलाडीले भाग लिएका छन् । त्यसमा महिला २० महिला खेलाडी छन् ।


मुवाँथाई एसोसिएसन अफ पाँचथरले गरेको प्रतियोगिता पहिलोपल्ट भएको अध्यक्ष विक्रम राईले बताए । मुवाँथाईका प्रशिक्षक रमा राईका अनुसार यो मार्सल आर्टसम्बन्धी खेल हो । यो थाइल्यान्डको राष्ट्रिय खेल पनि हो । मिक्स मार्सल आर्टमा आधारित छ । यो खेल रिङ बनाएर खेलिन्छ । यसमा उमेर समूह र तौलमा खेलाडीलाई विभाजन गराएर खेल खेलाइन्छ । बकिसङ र रेस्लिङजस्तै गरी खेलिन्छ ।


बुधबार सात खेलाडी फाइनल पुगेका छन् । त्यसमा ६ पुरुष र एक महिला छन् । उद्घाटन प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गरेका थिए ।