You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 3
गृह पृष्ठ

जमिनदारको हितमा भूमि विधेयक

- कुलचन्द्र न्यौपाने

काठमाडौं - सरकारले हदभन्दा बढी जग्गा ओगटने व्यवसायी लाभान्वित हुने गरी कानुन ल्याउन लागेको छ । विभिन्न उद्योग, प्रतिष्ठान, कम्पनी र संस्थाका नाममा हदभन्दा बढी जग्गा ओगेटनेलाई प्रत्यक्ष फाइदा पुग्ने गरी कानुन संशोधन गर्न लागिएको हो । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन भूमिसम्बन्धी (आठौं संशोधन) विधेयकमा एक पटकका लागि हदभन्दा बढी जग्गा राख्न पाउने र त्यस्तो जग्गा बिक्रीवितरण गर्न दिने प्रावधान छ । राष्ट्रिय सभाले विधेयक हुबहु पारित गरेमा घुमाउरो बाटोबाट जग्गा ओगट्दै आएका व्यवसायी तथा जमिनदार प्रत्यक्ष लाभान्वित हुनेछन् । लाभान्वित हुनेको संख्या पहाड र हिमाली क्षेत्रमा भन्दा तराईमा बढी छ ।
प्रतिनिधिसभाबाट पारित विधेयकको १२ (क) मा ०७६ असार मसान्तअघि नेपाल सरकारको स्वीकृति नलिई कुनै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले ऐनमा तोकिएको हदभन्दा बढी खरिद गरी उपयोग गरेको जग्गा एकपटकका लागि राख्न स्वीकृति दिने व्यवस्था छ । विधेयकको दफा १२ (ख) बिक्रीवितरणसँग सम्बन्धित छ । उद्योग प्रतिष्ठान, कम्पनी वा संस्था कुनै कारणले विघटन भएमा वा लिक्विडेसनमा गएमा दायित्व फरफारक गर्ने प्रयोजनका लागि बिक्रीवितरण गर्न बाधा परेको नमानिने उल्लेख छ । यस्तो व्यवस्थाले जग्गा ओगटने प्रयोजनका लागि स्थापना भएका उद्योग, व्यवसायीले कागज मिलाएर जग्गा बिक्रीवितरणको मौका पाउनेछन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विधेयक अघि बढाउँदा यस्तो प्रावधान राखेको थिएन । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल गरी संशोधन गरेको हो । समितिले सहमतिमै विधेयकमा उक्त प्रावधान थपेको थियो ।
राष्ट्रिय सभामा छलफलमा पुगेपछि भने सांसदहरू झस्किएका छन् । समितिमा अध्ययन नपुग्दा त्रुटि भएको भन्दै कांग्रेस सांसदले राष्ट्रिय सभामा संशोधन हालेका छन् । भूमाफियाको चलखेलकै आधारमा यस्तो व्यवस्था घुसाइएको दाबीसहित सत्तापक्ष र विपक्षी सांसदले यसको चर्को विरोध गरेका छन् । पहिलो पटक ०२१ सालमा कानुनी रूपमा सरकारले हदबन्दी लागू गरेको थियो । हदबन्दीअनुसार जग्गावालाको हैसियतले भित्री मधेससहित सम्पूर्ण तराई क्षेत्रमा १० बिघा र घरबारीका निम्ति थप १ बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी र घरबारीका निमित्त थप ५ रोपनी, काठमाडौं उपत्यकाबाहेक सम्पूर्ण पहाडी क्षेत्रमा ७० रोपनी र घरबारीका लागि थप ५ रोपनीभन्दा बढी राख्न पाइँदैन । घुमाउरो बाटो प्रयोग गरी हदभन्दा बढी जग्गा हुने अधिकांश जमिनदारले उद्योग, प्रतिष्ठान, कम्पनी र संस्थाका नाममा जग्गा ओगट्दै आएका थिए ।
सोझा र निमुखाको हदभन्दा बढीको जग्गा भने सरकारको स्वामित्वमा पुगेको थियो । खासगरी तराई–मधेसमा बिर्तावालाले कृषिसँग सम्बन्धित उद्योग, प्रतिष्ठान खोलेर जग्गा ओगटदै आएका छन् । तराईमा चिया र कफी बगानका नाममा हजारौं रोपनी जग्गा ओगटिएको छ । प्रचलित कानुनले त्यस्तो प्रयोजनमा राखिएको जग्गा बिक्रीवितरणमा रोक लगाएको छ । भूमिसम्बन्धी व्यवस्था ऐन ०२१ को दफा १२ को ‘क’ देखि ‘छ’ सम्मको व्यवस्थामा कुनै पनि उद्योग, व्यवसाय, प्रतिष्ठान र संस्थाका नाममा रहेका जग्गा संस्था कायम रहेसम्म मात्रै राख्न सकिने उल्लेख छ । कुनै कारणले संस्था विघटन भएमा वा लिक्विडेसनमा गए हदबन्दी लागू हुने व्यवस्था छ । यही व्यवस्थालाई संशोधन गरेर हदभन्दा बढीको जग्गा बिक्री वितरण गर्ने चलखेल ०४६ सालको परिवर्तनपछि सुरु भएको कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डे बताउँछन् । ‘०४६ सालपछिका सरकारबाटै यस्तो चलखेल चल्दै आएको थियो, गिरिजाप्रसाद कोइराला नेतृत्वको सुरुको सरकारमा धेरै कोसिस पनि भयो,’ उनले भने, ‘त्यतिबेला सफल भएन । अहिले जमिनदारलाई पोस्ने कानुन आएको छ । यसलाई संशोधन गर्न सकिएन भने हदभन्दा बढीको जग्गा बिक्री गर्ने शृंखला सुरु हुनेछ ।’
सत्तारूढ दल नेकपाका सांसद रामनारायण बिडारीले यस्तो प्रावधान राख्नु गलत भएको बताए । सुरुमा सरकारले विधेयक ल्याउँदा यस्तो प्रावधान नभएको भन्दै बिडारीले संसदको समितिबाट चलखेल सुरु भएको बताए । ‘हदभन्दा बढी जग्गा एक पटकका लागि फुकुवा गरिदिने व्यवस्था सरकारको थिएन, प्रतिनिधिसभामा ल्याएर परिमार्जन गरियो,’ उनले भने, ‘कानुन आवश्यक थियो तर यस्तो प्रावधान मिलेन । यसलाई सच्चाउनुपर्छ ।’ उनले सडकका दायाँबायाँ ३१ मिटर कायम गरेर व्यवस्थित बसोबासलाई अन्यत्र सार्नुपर्नेमा त्यहीँ लालपुर्जा दिने गरी कानुन बनाइएको भन्दै आपत्ति जनाए ।

गौचरन पनि खाली नरहने
सरकारले विधेयकमा सार्वजनिक गौचरनका जग्गामा संरचना निर्माण गर्न सक्ने प्रावधान थपेको छ । यो प्रावधान कायम रहे सहरी क्षेत्रमा रहेका सार्वजनिक जग्गा अब खाली नरहन सक्छन् । गौचरनका नाममा रहेका सार्वजनिक तथा सरकारी जग्गा सरकारी भवन निर्माण बनाउन वा सरकारले सिधै भाडामा दिन सक्ने व्यवस्था विधेयकको दफा ५९ (क) मा छ ।
यो प्रावधान पनि सुरुको वधेयकमा थिएन । समितिमा छलफल चल्दा यस्तो प्रावधान थपिएको हो । ‘सरकारी भवन निर्माण गर्न वा अन्य सार्वजनिक प्रयोजनका लागि जग्गा आवश्यक भएकामा त्यस्तो स्थानमा सरकारी जग्गा नरहेको वा भए पनि प्रयोग गर्न उपयुक्त नरहेको कारण त्यस्तो स्थानमा रहेको सार्वजनिक प्रकृतिको जग्गामध्ये गौचर जग्गा सो प्रयोजनका लागि प्रयोग गर्न उपयुक्त र आवश्यक हुने देखिएमा नेपाल सरकारको स्वीकृति लिएर प्रयोग गर्न सकिनेछ,’ भन्ने उल्लेख छ । कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता पाण्डेले यस्तो प्रावधानले सहरी क्षेत्रमा खुला स्थानै नरहने चिन्ता बढेको बताए । ‘०७२ सालमा आएजस्तै भूकम्प आएमा वा कुनै विपत्ति परेमा सहरवासी कहाँ जाने ?,’ उनले भने, ‘यस्ता जग्गामा भवन बनाउने होइन, पार्क बनाउने नभए खुला छाड्ने हो ।’ सत्तारूढ दलका सांसद बिडारीले भने सार्वजनिक जग्गा सरकारका नाममा ल्याउनुलाई नकारात्मक रूपमा लिन नहुने बताए । ‘सार्वजनिक हितविपरीत प्रयोग गर्न हुन्न । अहिले टुँडिखेलमा आर्मीले के गरिरहेको छ ? त्यसो गर्न मिल्छ कि मिल्दैन ? त्यसलाई सरकारका नाममा नल्याउने ?’ बिडारीले थपे, ‘सरकारको अधीनमा सार्वजनिक तथा सरकारी जग्गा हुनु नराम्रो होइन, प्रयोग गर्दा सार्वजनिक
हितलाई ध्यान दिनुपर्छ ।’
कांग्रेसले हदभन्दा बढी जग्गा राख्न र बिक्री गर्न छुट दिने, सुकुम्बासी र व्यवस्थित बसोबास गर्दै आएका परिवारलाई दिइने जग्गा दस वर्षपछि बिक्रीवितरण गर्न पाउने, गौचरको जग्गामा संरचना निर्माण गर्न सकिनेजस्ता विधेयकमा भएका प्रावधान हटाउन संशोधन हालेको छ ।

गृह पृष्ठ

‘नेतृत्वको टिप्पणी गरे कारबाही’

नेकपा बैठक
- कान्तिपुर संवाददाता
पार्टी एकतापछि पहिलो पटक पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठक । तस्बिर : कबिन अधिकारी/कान्तिपुर

काठमाडौं – नेकपाले पार्टी नेतृत्वमाथि सार्वजनिक रूपमा टिप्पणी गर्न रोक लगाएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट बैठक सञ्चालन अनुमति पाएपछि पहिलो पटक अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । अब पार्टीले सार्वजनिक टिप्पणी गर्नेलाई अनुशासनको कारबाही गर्नेछ ।
पछिल्लो समय नेता, कार्यकर्ताले नेतृत्वमा रहेकाहरूलाई सार्वजनिक रूपमा टिप्पणी गर्ने क्रम बढेको थियो । सामाजिक सञ्जालमा नेताहरू लाञ्छित अभिव्यक्ति तीव्र थिए । नेता विशेषसँग निकटता देखाउन पनि सार्वजनिक टिप्पणी गर्ने क्रम बढेकाले नियन्त्रण गर्न पार्टीले कारबाहीको निर्णय गरेको हो । ‘कुनै पनि विषयमा नेताहरूमाथि चित्त नबुझे पार्टीका सम्बन्धित कमिटीमा छलफलको विषय बनाउन सकिन्छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘तर पार्टीमा छलफल नगरे अनुशासनको कारबाही हुन्छ ।’ बैठकले विधानको व्यवस्थाअनुसार प्रस्तुत हुन निर्देशनसमेत दिएको छ । ‘बैठकले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भए पार्टी विधानको व्यवस्थाबमोजिम प्रस्तुत हुन र अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न निर्देशन गरेको छ,’ बैठकपछि महासचिव विष्णु पौडेलद्वारा जारी सर्कुलरमा भनिएको छ, ‘पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशन गरेको छ ।’
पार्टीको नीति वा नेतृत्वविरुद्ध लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारबाही अघि बढाइने पनि निर्णय भएको महासचिव पौडेलले बताए । पार्टीका बैठकमा नेताहरूबीच पनि व्यक्तिगत लाञ्छना लगाउने गरी टिप्पणी हुने गरेका थिए । यसअघिको सचिवालय बैठकमा व्यक्तिगत टिकाटिप्पणीका कारण शीर्ष नेताबीच भनाभनसमेत भएको थियो । अब यी विषय पार्टी अनुशासन उल्लंघनका विषय बन्नेछन् ।

चार केन्द्रीय सदस्य मनोनीत
नेकपाले पछिल्लो समय पार्टी प्रवेश गरेका चार जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रवेश गरेका कल्पना धमला, देवेन्द्र पराजुली र नेत्रविक्रम चन्द समूह छाडेका पदम राई एवं किरण राईलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।बैठकले केही विभागमा उमप्रमुखको संख्या बढाएको छ । माधवकुमार नेपालले नेतृत्व गर्ने विदेश विभाग उपप्रमुखमा विष्णु रिजाललाई थपेको छ । यसअघि राम कार्कीलाई पनि उपप्रमुखको जिम्मेवारी दिइएको थियो । त्यस्तै प्रेस संगठनको सहइन्चार्जको जिम्मेवारी महेश्वर दाहाललाई दिइएको छ । स्कुल विभाग उपप्रमुखमा यसअघि वेदुराम भुसाललाई थपिसकेको छ ।

गृह पृष्ठ

प्रधान सम्पादकमा शर्मा नियुक्त

- कान्तिपुर संवाददाता

काठमाडौं – कान्तिपुर दैनिकको प्रधान सम्पादकमा सोमबार सुधीर शर्मा नियुक्त भएका छन् । यसअघि १० वर्षसम्म कान्तिपुर दैनिकको नेतृत्वमा रहेका शर्माले १३ महिनाअघि राजीनामा गरेका थिए । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले पब्लिकेसन्समा आयोजित एक समारोहबीच शर्मालाई प्रधान सम्पादक नियुक्त गरिएको घोषणा गरेका हुन् । त्यस क्रममा अध्यक्ष सिरोहियाले नारायण वाग्लेले प्रधान सम्पादक पदबाट दिएको राजीनामा स्वीकृत गरिएको जानकारी गराएका थिए । ‘उहाँले व्यक्तिगत कारण जनाउँदै कान्तिपुरबाट अलग हुने निर्णय गर्नुभएको छ,’ सिरोहियाले भने, ‘उहाँको अनुभव, इमानदारी र व्यावसायिकताका लागि धन्यवाद दिन चाहन्छु ।’
प्रधान सम्पादक शर्माले मुलुकमा देखिएका पछिल्ला केही प्रवृत्ति र गतिविधिले आम सञ्चारका माध्यम अझ सशक्त र जिम्मेवार बन्नुपर्ने अवस्था आइपरेको बताए । ‘कान्तिपुरले जनसरोकारका मुद्दालाई केन्द्रमा राखेर व्यावसायिक पत्रकारितालाई अझ दरिलोसँग अगाडि बढाउनेछ,’ उनले भने । निवर्तमान प्रधान सम्पादक वाग्लेले मूलधारका सञ्चार माध्यमबाट भन्दा पनि भीडबाट जनमत निर्माण हुने अवस्थातर्फ समाज गइरहेकाले त्यसलाई चिर्नु मुख्य चुनौती रहेको बताए । शर्माको नेतृत्वमा कान्तिपुर र पत्रकारिता थप उचाइमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

गृह पृष्ठ

एनसेलको कर निर्धारण बदर

- कृष्ण आचार्य,कृष्ण ज्ञवाली

काठमाडौं - १२औं पटकको सेयर बिक्रीपछि लाग्ने पुँजीगत लाभकर तिर्न आनाकानी गर्दै आएको एनसेलकै मागअनुसार सर्वोच्च अदालतले फैसला सुनाएको छ । पाँच न्यायाधीशको बृहत् पूर्ण इजलासले गरेको फैसलाको निर्णय सोमबार सुनाउँदै सर्वोच्चले ठूला करदाता कार्यालयले यसअघि गरेको कर निर्धारणलाई बदर गरिदिएको छ । अब ठूला करदाता कार्यालयले पुनः नयाँ कर निर्धारण प्रक्रिया अघि बढाउनुपर्ने छ ।
‘निवेदकलाई आयकर ऐनको दफा १२० (क) बमोजिम लगाएको शुल्क उक्त दफाको विपरीत देखिँदा सो हदसम्म ठूला करदाता कार्यालयको मिति २०७६/०१/०३ को कर निर्धारण आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ,’ सर्वोच्चको फैसलामा भनिएको छ । ठूला करदाता कार्यालयले गत वैशाख ३ गते ऐनको दफा १२० (क) बमोजिम शुल्कबापतको १८ अर्ब ३३ करोड रुपैयाँसहित ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो । ६२ अर्ब ६३ करोडमध्ये एनसेलले पहिल्यै २३ अर्ब ५७ करोड रुपैयाँ कर तिरिसकेको छ । बाँकी ३९ अर्ब ६ करोड कर बुझाउनुपर्नेमा एनसेलले कर निर्धारणप्रति चित्त नबुझेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।
मुद्दामाथि सर्वोच्चले फैसला गरिसकेकाले अब १८ अर्ब ३३ करोड रुपैयाँ तिर्नुपर्ने छैन । ‘जानाजानी वा लापरबाहीपूर्वक गरेको नभई भूलवश झूटा वा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट हुने घटी कर रकमको पचास प्रतिशत’ रकम शुल्क लाग्ने व्यवस्था ऐनको दफा १२० (क) ले गरेको छ । एनसेलका हकमा यो कर प्रकरणमा यो दफा लागू नहुने व्याख्या सर्वोच्चले गरिदिएको हो । दफा १२० बाहेक अन्यका हकमा ठूला करदाता कार्यालयले गरेको कर निर्धारण कानुनबमोजिम रहेको सर्वोच्च अदालतको ठहर छ । यस आधारमा अब एनसेलले करिब २१ अर्ब रुपैयाँ कर बुझाए पुग्ने अनुमान कर अधिकृतहरूले गर्न थालेका छन् ।
ठूला करदाता कार्यालयका पदाधिकारीले भने ‘अहिले भन्न नसकिने’ प्रतिक्रिया दिएका छन् । ‘अब उसलाई सुनुवाइको मौकासमेत दिई हामी पुनः कर निर्धारण प्रक्रिया अघि बढाउनेछौं,’ एक अधिकारीले भने, ‘एनसेलको कर विवाद टुंगिन अझै समय लाग्ने भयो । कति लाग्छ, पूर्ण फैसला नआई भन्न सकिन्न ।’ सेयर खरिदबिक्री कारोबारमा त्यतिबेला बजार मूल्यका आधारमै ठूला करदाता कार्यालयले १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजार निर्धारण गरेका थिए । त्यसलाई २०७५ माघ २३ को फैसलाले स्विकारेको छ ।
उसले लाभकरको दायित्व टेलिया सोनेरामा नभई एनसेलको हुने भन्दै उसैबाट असुल्ने निर्णय गरेको थियो । बृहत् पूर्ण इजलासले गरेको यो फैसलामा पुनरावेदन जाने अवस्थासमेत नरहेकाले अन्तिमसरह हुन्छ । हालसम्म सर्वोच्चमा एनसेल कर विवादलाई लिएर दर्जन बढी मुद्दा परिसकेका छन् । कर लगाउने, त्यसैअनुसार कर निर्धारण हुने, फेरि मुद्दा पर्ने, फेरि फैसला सुनाउने क्रम हुँदै आएको छ । २०७२ चैत २९ गते बिक्री भएको एनसेलको कर विवाद प्रकरण कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका हुँदै अन्तर्राष्ट्रिय निकायसमक्ष समेत पुगिसकेको छ । उसले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) मा पनि आफ्नो कर विवाद समस्या समाधान गरिदिन निवेदन दर्ता गराएको छ । यो निकायमा दुवै पक्षको बहस र छलफल हुनुपर्ने भए पनि नेपाल सरकारले सामेल नहुने जवाफ पठाएको छ । एनसेलसँगको करसम्बन्धी विवाद मध्यस्थताको विषय नभएको र करबारे सर्वोच्चमा मुद्दासमेत विचाराधीन रहेकाले सरकारले अन्तर्राष्ट्रिय मध्यस्थतामा सहभागिता नजनाउने जवाफ पठाएको हो ।

गृह पृष्ठ

फेक आईडीको त्यो पोस्ट

- कुम्भराज राई

ओखलढुंगा - दुई दिदी र एक दाजुकी कान्छी बहिनी गोमा कार्की एसईई दिएर बसेकी थिइन् । चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया उनको परीक्षाफल प्रकाशित हुन एक साता मात्र बाँकी थियो । गत असार ६ गते उनलाई दाजुले काठमाडौंबाट फोन गरे, ‘तिम्रो फोटो राखेर फेसबुकमा जे पायो त्यो लेख्ने को हो ?’ जवाफमा उनले ‘मलाई त केही थाहा छैन’ भन्नेबित्तिकै फोन काटियो । ‘थुप्रैपटक बहिनीलाई फोन सम्पर्कको प्रयास गर्दा पनि मोबाइल अफ भन्यो’, दाजुले भने, ‘बेलुकी एक्कासि बहिनीले आत्महत्या गरेको खबर सुन्नुपर्‍यो ।’ ‘सबैको बुढी म’ भन्ने नाम राख्दै प्रोफाइल तस्बिर गोमाको राखिएको थियो । उनको फेसबुक पोस्टबाट तस्बिर कपी गरेर राखिएको आईडी फेक थियो । उक्त आईडी देखिसकेपछि दाजुले त्यो नचिनेको युजरलाई म्यासेज पनि पठाए, ‘किन यस्तो गरेको ? तँ को होस् ? कानुनी कारबाहीमा जाऊँ ?’ त्यो अज्ञात युजरले जवाफ फर्कायो, ‘जे गर्न सक्छस्, गर् । तँलाई केको मतलब ?’
समय त्यस्तै साँझको ५ः४५ । पिता लालबहादुर घरेलु हतियार धार लगाउन नजिकैको आरनतिर गएका थिए । आमा नन्दकुमारी बाख्रालाई घाँस काट्न भनेर जंगलतिर निस्केकी थिइन् । खाना बनाउने जिम्मा दिएर निस्केका आमाबुबा घरमा आइपुग्दा छोरीले कोठामा पासो लगाएर आत्महत्या गरिसकेकी थिइन् । त्यसपछि गाउँलेले प्रहरीलाई खबर गरे । प्रहरी आएर हेर्दा उनले लेखेको एउटा सानो चिर्कटो फेला पर्‍यो । ‘मेरो फेक आईडी बनाएर मलाई बदनाम गराउनेलाई कारबाही गरे मात्र मेरो आत्मालाई शान्ति मिल्नेछ’ लेखिएको थियो । प्रहरीले उक्त सुसाइड नोटको ‘ह्यान्डराइटिङ’ परीक्षण गराउन विधिविज्ञान प्रयोगशाला पठायो । ह्यान्डराइटिङ गोमाकै रहेको पुष्टि भयो ।
मृतकको परिवारले फेक आईडी खोलेर बदनाम गराउनेको खोजी गरिदिन प्रहरीलाई आग्रह गरे । उनीहरूले भोटाहिटीस्थित साइबर अपराध ब्युरोमा उजुरी दिए । ब्युरोले केही दिनपछि नै फेक आईडी खोलेको मोबाइल नम्बर पत्ता लगायो । उक्त नम्बर बिन्दा कार्कीको नाममा दर्ता भएको देखियो । बिन्दा रानीवन माइत भई विवाह गरेर अन्तै गइसकेकी थिइन् । प्रहरीले बिन्दालाई सम्पर्क गर्दा त्यो नम्बर एक वर्षअघि आफूले भाइलाई चलाउन दिएको बताइन् । त्यसपछि प्रहरीले उनको भाइ युवराज कार्कीलाई सम्पर्क गर्‍यो । युवराजको स्थायी घर चम्पादेवी–१० रानीवन नै हो । मृतक गोमाको भन्दा एक घण्टाको दूरीमा उनको घर छ । तर उनी केही समययता राजधानीस्थित एक होस्टेलमा काम गर्थे । प्रहरीले सोधपुछका लागि जिल्ला बोलायो । बोलाएर सोधपुछ गर्दा सुरुमा आरोप इन्कार गरे । केही घण्टाको केरकारपछि स्विकारे । उनले प्रहरीसँगको बयानमा आफूले गोमालाई माया गरेको र गफगाफ हुने गरेको बताएका छन् । पछि गोमा टाढिन खोजेर धोका दिन लागेकाले आफूले फेक आईडी खोलेर बदनाम गरेको बताएका छन् । आत्महत्या गर्छिन् होला भन्ने कल्पनासम्म नगरेको बयान उनले दिएका छन् ।
युवराजको बयान र फेसबुकका अन्य प्रमाणसहित प्रहरीले आत्महत्या दुरुत्साहन गरेको भन्दै आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । गोमाको परिवारले किटानी जाहेरी दिइसकेका छन् । ‘करिब दुई महिना हामीले यो घटनाको लगातार अनुसन्धान गर्‍यौं ।’ जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजीव श्रेष्ठले भने, ‘घटनाका मुख्य अभियुक्त पक्राउ गरेर मुद्दा प्रक्रिया अघि बढिसकेको छ । बाँकी अनुसन्धानको क्रम चलिरहेको छ ।’ ओखलढुंगा जिल्ला अदालतमा दर्ता भएको आत्महत्या दुरुत्साहनको यो दोस्रो मुद्दा हो । मृतकका परिवार र आफन्तले यस्तो घटनाबाट अरूले पाठ सिक्नुपर्ने बताएका छन् । ‘सामाजिक सञ्जालमा आवेशमा आएर पोखिने सानो आक्रोशले मान्छेको ज्यान लिने रहेछ,’ चम्पादेवी–१० का वडाध्यक्ष उज्जन बुढाथोकीले भने, ‘त्यही गल्तीले जेल जानुपर्ने रहेछ भन्ने जानकारी सबैतिर फैलिन जरुरी छ । नत्र यस्तो घटना अझै हुन सक्छन् । यो अत्यन्तै दुखद हो ।’
दुई छोरी विवाह गरेर आफ्नै घर गइसके । एउटा छोरा जागिरको सिलसिलामा राजधानीतिर छन् । घरमा साथी बनेर बसेकी कान्छी छोरीले आत्महत्या गरेको दिनदेखि बुवाआमा अझै शोकाकुल छन् । कान्छी बहिनी भएकाले एसईईपछि उनको इच्छाबमोजिम पढाउने दाजुको सपना थियो । सबै सपना फेसबुकको फेक आईडीमा गरिएको एउटै पोस्टले सधैंका लागि समाप्त पारिदियो ।

Page 5
समाचार

निजीको दबाबले अड्कियो शिक्षा नीति

- सुदीप कैनी

काठमाडौं - निजी स्कुलको लगानीबारे मन्त्रीहरूबीच मत नमिल्दा ‘राष्ट्रिय शिक्षा नीति’ पारित हुनबाट रोकिएको छ । निजी विद्यालय सञ्चालकहरूले आफूअनुकूल प्रावधान राख्न दबाब दिएपछि नीति मन्त्रिपरिषद्मा अडकिएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ५ महिनाअघि नीतिको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद् लगेका थिए । मन्त्रिपरिषदको सामाजिक समितिमा भएको छलफलमा समेत नीतिबारे टुंगो लाग्न सकेन । शिक्षा मन्त्रालयले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवदेनको मर्मअनुसार नीतिको मस्यौदा तयार गरेको थियो ।
मस्यौदामा कम्पनी ऐनअन्तर्गत दर्ता भएर चलेका निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामुखी संस्थाका रूपमा रूपान्तरण गर्ने उल्लेख छ । मस्यौदामा कम्पनी, सहकारी र गुठी मोडलमा चलेका स्कुललाई एउटै ढाँचामा ल्याएर गैरनाफामूलक बनाउने उल्लेख छ । उक्त प्रावधान राख्ने कि हटाउने भन्नेबारे मन्त्रिपरिषद्मा सहमति जुट्न नसकेको हो । मन्त्रालयको मस्यौदामा प्रधानमन्त्री केपी ओलीले नै हस्तक्षेप गरेका कारण शिक्षा नीति टुंगो लाग्न नसकेको स्रोतको दाबी छ ।
आयोगको सुझाबप्रति निजी शिक्षण संस्था सञ्चालकहरू पनि रुष्ट छन् । निजी विद्यालयका सवालमा पनि आयोगकै सुझावअनुरूप मस्यौदा तयार पारिएकाले प्रधानमन्त्रीले प्रावधान हेरफेर गर्न दबाब दिएको शिक्षा मन्त्रालयका अधिकारीले बताए । नीति टुंगो नलाग्दा मस्यौदा तयार भइसकेको संघीय शिक्षा ऐन पनि रोकिएको छ । प्रधानमन्त्रीले गत माघमै प्राप्त आयोगको प्रतिवदेन सार्वजनिक गर्न रोकेका छन् ।
मन्त्रीहरू शिक्षा नीतिका विषयमा विभाजित बनेपछि छलफल गरी टुंगो लगाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री पोखरेल, कानुनमन्त्री भानुभक्त ढकाल, श्रममन्त्री गोकर्ण विष्ट र सञ्चारमन्त्री गोकुल बाँस्कोटा सम्मिलित समिति बनेको छ । समितिले बुधबार नीतिबारे थप छलफल गरेर अन्तिम रूप दिने तय गरेको छ । आयोगका सदस्यहरू भने सत्तारूढ दलभित्रै शिक्षाका सवालमा एउटै बुझाइ नभएकाले ऐन र नीतिमा ढिलाइ भएको तर्क गर्छन् । आयोग सदस्य तथा शिक्षाविद् विद्यानाथ कोइरालाले आयोगको प्रतिवेदनसमेत लुकाएर राखिनुको कारण पनि यही भएको दाबी गरे ।
स्रोतका अनुसार नीतिबाट ‘निजी विद्यालयलाई गैरनाफामुखी गर्ने’ शब्द हटाउन मन्त्रीहरूबीच लगभग सहमति भइसकेको छ । कम्पनी, सहकारी र गुठीमा चलेका स्कुलहरूलाई एउटै ढाँचामा ल्याउने प्रावधान पनि नीतिबाट हटाउन लागिएको छ । १० वर्षभित्र गैरनाफामूलक सामाजिक संस्था बनाउने व्यवस्था हटाएर ‘सेवामूलक सामाजिक संस्थाका रूपमा रूपान्तरण गर्ने’ भन्ने वाक्य मात्रै राख्न लागिएको छ ।
संविधानले शिक्षालाई मौलिक हकका रूपमा राखेको छ । निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कसरी निःशुल्क शिक्षा उपलब्ध गराउने भन्नेमा पनि मन्त्रिपरिषद्मा सहमति जुट्न सकेको छैन । निजी विद्यालय सञ्चालकले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको प्रावधानअनुसार सामुदायिक विद्यालयको दाँजोमा प्रतिविद्यार्थी खर्च सरकारले बेहोर्नुपर्ने तर्क गर्दै आएका छन् । आफ्नै आयोगले गरेको सिफारिसविपरीत शिक्षा नीति ल्याउन खोजेको भन्दै शिक्षामन्त्री पोखरेलको आलोचना हुन थालेको छ ।
संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिएको छ । शिक्षकहरू भने आफूलाई केन्द्र सरकार मातहत राख्न चाहन्छन् । यसबारे पनि मन्त्रीहरू एकमत हुन सकेका छैनन् । मन्त्रालयले शिक्षकलाई प्रदेश मातहत खटनपटन गराउने गरी मस्यौदा तयार पारेको थियो । मन्त्रालयले शिक्षक महासंघसँग पनि शिक्षकलाई स्थानीय तह मातहत नराख्ने आशयको सहमति गरिसकेको छ । यसमा स्थानीय तहका जनप्रतिनिधिले विरोध गर्दै आएका छन् । मन्त्रीहरूबीच पनि शिक्षकलाई संघ, प्रदेश र स्थानीयमध्ये कुन सरकार मातहत राख्ने भन्नेमा बेमेल देखिएको छ ।

समाचार

‘किन रोकियो नागरिकता विधेयक ?’

- कान्तिपुर संवाददाता

काठमाडौं - प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले नागरिकता विधेयक, नेपाल–भारत सम्बन्ध, बाढीपहिरोको क्षति, डेंगु र शिक्षा, स्वास्थ्यलगायत विषयमा सरकारको जवाफ मागेका छन् । पौने तीन घण्टा चलेको बैठकमा सांसदहरूले प्रश्नोत्तर, शून्य र विशेष समयमा बोल्दै समस्याको तत्काल हल गर्न माग पनि गरे । सत्तारूढ नेकपाकी सांसद दुर्गाकुमारी विकले आमाका नाममा नागरिकता नपाउँदा विद्यार्थी पढ्नबाट वञ्चित भएको उल्लेख गर्दै एक वर्षदेखि अडकिएको नागरिकता विधेयकलाई छिटो पारित गर्न माग गरिन् । ‘आमाका नाममा नागरिकता कुरिरहेको पंक्ति ठूलो छ । नागरिकता नपाउँदा पढ्न, धारा, बत्ती जोडन पनि पाएका छैनन्,’ उनले भनिन्, ‘कास्कीमा नागरिकता दिँदा वडाध्यक्षसहित १२ जना हिरासतमा छन् । अब कि हिरासत र जेल थप्नुपर्‍यो कि नागरिकता विधेयक पारित गर्नुपर्‍यो ।’
नागरिकतासम्बन्धी विधेयक पारित नहुँदा जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानले पनि नागरिकता पाउन
सकेका छैनन् ।

‘परराष्ट्रमन्त्रीको बोली र वक्तव्य फरक’
कांग्रेस सांसद प्रदीप गिरिले नेपाल–भारत संयुक्त आयोगको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेको र परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्ति फरक परेको बताएका छन् । ‘परराष्ट्रमन्त्रीले कालापानी, लिपुलेक, सुस्ताबारे कुरा उठाएको र सन् १९५० को सन्धि पुनरावलोकन गर्न सचिवस्तरीय संयन्त्र बनाएको बताउनुभयो,’ उनले भने, ‘तर संयोगवश हो वा नियतवश, परराष्ट्रको विज्ञप्तिमा त्यो विषय राखिएको छैन । संयुक्त आयोगको बैठक निरर्थक भएको छ ।’
विशेष समय लिएर बोलेका गिरिले कालापानी, लिपुलेक, सुस्ता र १९५० को सन्धिका विषयमा बोलेर होइन, कूटनीतिक पहल गरेर समाधान गर्न सरकारलाई आग्रह गरे । ‘बोल्दा चुनावलाई फाइदा होला तर समस्या समाधान हुन सक्दैन,’ उनले भने । संसदमै जवाफ दिन उपस्थित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सांसदहरूले संविधानले उल्लेख गरेको निःशुल्क शिक्षा व्यवहारमा लागू गर्न माग गरे । सांसद गगन थापा, महेश बस्नेत, राजेन्द्र लिङदेन, महेन्द्रराय यादवले संघीय शिक्षा ऐन बन्न नसकेको, सामुदायिक विद्यालयमा भर्ना कम भएको लगायत विषय उठाएका थिए ।
मन्त्री पोखरेलले शिक्षा अनिवार्य तथा निःशुल्क भनिए पनि सबै तहमा लागू गर्न समस्या रहेको भन्दै त्यससम्बन्धी नीतिनिर्माण अन्तिम चरण भएको सुनाए । उनले कुनै सामुदायिक विद्यालयमा विद्यार्थी बढेको उल्लेख गर्दै आगामी वर्षसम्म युनेस्कोको मान्यताअनुसार ९५ प्रतिशत साक्षर बनाउन सकिने बताए । हाल साक्षरतादर ८० प्रतिशत छ । हृदयेश त्रिपाठीले राष्ट्र बैंकले अनुगमन गर्न नसक्दा निजी बैंकहरू साहुसरह बनेको टिप्पणी गरे । पूर्वमन्त्रीसमेत रहेका त्रिपाठीले भने, ‘निजी बैंकहरू धरौटी राम्रो देखे त्यसलाई कसरी हात पार्ने भनेर लाग्छन् ।’

समाचार

सिंगापुरबाटै मन्त्रिपरिषद् अध्यक्षता

- कान्तिपुर संवाददाता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाटै मन्त्रिपरिषद् बैठक गरेका छन् । उपचारका लागि सिंगापुरमा रहेका उनले सोमबार ‘भिडियो कन्फेरेन्स’ मार्फत बैठकको अध्यक्षता गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा भिडियो कन्फरेन्समार्फत कुराकानी गर्न मिल्ने ‘एक्सन रुम’ बनाइएको छ । त्यहीँ मन्त्रीहरू बसेका थिए । यो कक्ष गत जेठबाट सञ्चालनमा आएको हो । भिडियो कन्फेरेन्सका लागि एक्सन रुममा ठूल्ठूला तीनवटा स्क्रिन राखिएका छन् । सिंगापुरबाट प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग मन्त्रालयका कामबारे कुराकानी गरेका थिए ।
मन्त्रिपरिषद् बैठकको निर्णय भने सार्वजनिक गरिएको छैन । भिडियो कन्फेरेन्समार्फत मन्त्रिपरिषद् बैठक पहिलो पटक गरिएको हो । प्रविधि प्रयोग गरेर बैठक गर्न सकिएको भन्दै प्रधानमन्त्री ओलीले ट्वीटमार्फत प्राविधिकहरूलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री ओली सिंगापुर जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रविधिको प्रयोग गरेर पनि मन्त्रिपरिषद् बैठक गर्न सकिने गरी कार्यविधि संशोधन गरेको थियो । प्रधानमन्त्री जहाँ भए पनि प्रविधिको प्रयोगबाट बैठक सञ्चालन गर्न समस्या नहोस् भनेर मन्त्रिपरिषद्ले कार्यविधि संशोधन गरेको हो । त्यही कार्यविधिअनुसार सोमबार नियमित मन्त्रिपरिषद् बैठक भएको हो ।

कांग्रेस नेता पौडेलको आपत्ति
प्रमुख विपक्षी दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गरिएकामा आपत्ति जनाएका छन् । उनले यसबाट राष्ट्रिय गोपनीयता भंग हुने बताएका छन् । ‘प्रधानमन्त्रीले राष्ट्रिय गोपनीयता भंग गर्नुभएको छ, यसले राष्ट्रलाई कमजोर बनाउँछ,’ नेता पौडेलले कान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीले नेपालको संविधान र कानुनविपरीत त्यसरी भिडियो कन्फेरेन्स गर्न मिल्दैन । यो गम्भीर विषय हो ।’

समाचार

प्रधानमन्त्रीलाई ७ पटक प्लाज्माफेरेसिस गरिने

- अतुल मिश्र

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मृगौलासम्बन्धी एन्टिबडी’ को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ । बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर ‘प्लाज्माफेरेसिस’ थालिएको हो ।
हालसम्म उनको शुक्रबार र आइतबार गरी दुई पटक प्लाज्माफेरेसिस भइसकेको छ । मंगलबार फेरि गरिँदै छ । कान्तिपुरलाई सिंगापुरबाट प्राप्त जानकारीअनुसार उनको शरीरका लागि आवश्यकभन्दा भिन्न प्रकारको एन्टिबडी देखिएपछि यो प्रक्रिया अपनाइएको हो । यसअघि साउन १८ देखि साउन २७ गतेसम्म सोही अस्पतालमा प्रधानमन्त्रीको परीक्षणसँगै विभिन्न औषधिसमेत चलाइएको थियो ।
उपचारमा संलग्न विशेषज्ञद्वारा हालसम्म ओलीको मृगौलासम्बन्धी तेस्रो पटक एन्टिबडी हेरिएको हो । यसअघि ओलीको सन् २०१३ मा हातमा फरक प्रकारको संक्रमण हुँदाताका र दुई वर्षअघि समेत एन्टिबडी हेरिएको थियो । तर यस्तो एन्टिबडी शरीरमा भएर मात्र हुँदैन, ‘दाता विशिष्ट एन्टिबडी’ हुनुपर्छ । यस्तो, ‘डोनर स्पेसिफिक एन्टिबडी’ देखिँदा यसलाई समयमै शरीरबाट बाहिर निकाल्दा राम्रो हुन्छ । हाल यही विशेष प्रकारको एन्टिबडी बढेपछि बचाउका लागि प्लाज्माफेरेसिस प्रक्रिया अपनाइएको हो । ‘यस्तो एन्टिबडी देखियो भने मृगौला फेल हुन्छ भनेर यो प्रक्रिया सुरु गरिएको होइन र यो प्रक्रिया मृगौला फेल भएकाले गर्नेसमेत होइन,’ प्रधानमन्त्रीको उपचारमा संलग्न एक विशेषज्ञले भने, ‘यो अत्याधुनिक प्रक्रियाले मृगौलाको आयुलाई लम्ब्याउन सकिन्छ ।’ प्लाज्माफेरेसिसमा एन्टिबडीलाई हटाउनका लागि शरीरको रगतलाई निकालेर उपचार गरेर फेरि त्यसलाई शरीरमा पठाइन्छ । जसले गर्दा मृगौलामा भइरहेको आक्रमण रोक्न सकिन्छ । यो रक्त शुद्घीकरण प्रक्रियाको उपयोग थुप्रै अटोइम्युन रोगको उपचारमा समेत गरिन्छ । ‘नेपालमा पनि प्रधानमन्त्रीको प्लाज्माफेरेसिस गर्न सकिन्थ्यो,’ ती चिकित्सकले भने, ‘तर अत्यधिक कडा संक्रमण नियन्त्रण गर्न विशेषज्ञ टिम भएमा मात्र सहज हुने थियो ।’
१२ वर्षअघि दिल्लीस्थित अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गराएका ओलीलाई यसअघि हात लगायतमा दुई–तीन पटक संक्रमण भइसकेको छ । त्यसैले विशेषज्ञहरूले प्लाज्माफेरेसिससँगै संक्रामक रोग रोकथाम गर्न सक्ने अत्याधुनिक सशक्त चिकित्सकीय टोली चाहिने भन्दै सिंगापुर लगिएको हो ।
विशेषज्ञहरूका अनुसार प्लाज्माफेरेसिसको सामान्य प्रयोग आँखाको नसा र मेरुदण्डको हाडलाई प्रभावित गर्ने केन्द्रीय स्नायु प्रणालीसम्बन्धी अटोइम्युन रोग न्युरोमाइलाइटिस अप्टिकामा समेत प्रभावकारी मानिन्छ । केन्द्रीय स्नायु प्रणालीमा आक्रमण गर्ने अटोइम्युन रोग ‘मल्टिपल स्क्लेरोसिस’, न्युरो मसकुलर डिजअर्डर ‘माइस्थानिया ग्रेभिस’, गुलियन वेरी सिन्ड्रोम, ट्रान्सभर्स माइलाइटिस, छाला रोग सोराइसिस लगायतमा समेत गरिन्छ । भविष्यमा कलेजो प्रत्यारोपण आवश्यक हुने बिरामीलाई समेत प्लाज्माफेरेसिसका माध्यमले बचाउन सकिन्छ ।

समाचार

छुटे लामिछाने, कँडेल र कार्की

- रमेशकुमार पौडेल

चितवन - आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्त सञ्चारकर्मी रवि लामिछाने पाँच लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । चितवन जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश हेमन्त रावलको आदेशमा उनी रिहा भएका हुन् । उनीसँगै पक्राउ परेका युवराज कँडेल ३ लाख धरौटीमा र अस्मिता कार्की साधारण तारेखमा छुटेका छन् ।
अदालतले रवि र कँडेलका हकमा अन्य पूरक आदेश पनि गरेको छ । स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार ती आदेश रविले सञ्चालन गर्ने टीभी कार्यक्रम (सिधा कुरा जनतासँग) सँग सम्बन्धित छन् । मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म प्रस्तुत मुद्दाको विषयवस्तुलाई लिएर कार्यक्रम सञ्चालन गर्न र सार्वजनिक अभिव्यक्ति दिनसमेत बन्देज लगाइएको गिरीले जानकारी दिए । ‘मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म प्रस्तुत मुद्दाको विषयलाई लिएर अनुसन्धानमा संलग्न प्रहरी, मुद्दा अभियोजनकर्ता सरकारी वकिल, पीडित परिवार, मुद्दाका पक्ष, सम्बन्धित साक्षी, मौकामा बुझिएका अन्य व्यक्ति, प्रमाणको रूपमा वैज्ञानिक परीक्षणमा संलग्न विशेषज्ञ, चिकित्सक, अदालत र समग्र न्यायिक प्रक्रियामा कुनै पनि विषयवस्तु समावेश गरी संकलित प्रमाणको विश्वसनीयतामा असर गर्ने गरी अदालतभन्दा बाहिर कुनै पनि सार्वजनिक र टेलिभिजन कार्यक्रम गर्न रोक लगाइएको छ,’ गिरीले भने ।
यो विषयमा फेसबुक, लाइभ, ट्वीटर, युट्युबलगायतका सामाजिक सञ्जाल एवं सार्वजनिक सञ्चार माध्यममा विचार वा प्रतिक्रिया स्वदेश वा विदेशमा पनि व्यक्त गर्न नपाउने गरी आदेश भएको गिरीले जानकारी दिए । ‘यो आदेशले अरूखाले कार्यक्रमलाई प्रतिबन्ध लगाएको देखिँदैन, विचाराधीन मुद्दालाई प्रभाव नपार्ने गरी अन्य विषयवस्तुमा कार्यक्रम गर्न पाइयो,’ उनले भने, ‘सिधा कुरा जनतासँग कार्यक्रममा यो विषयवस्तु राखेर कार्यक्रम चलाउन पाइएन भन्ने आदेश हो ।’ त्यसैगरी लामिछाने र कँडेल औषधि उपचारका लागि विदेश जानुपर्‍यो भने पनि चितवन जिल्ला अदालतको अनुमति लिएर मात्रै जान सक्ने आदेश भएको उनले बताए ।
साउन २० गते राति नारायणगढको कंगारु होटलमा काठमाडौंको माउन्टेन टीभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनी झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले बरामद गरेको पुडासैनीको मोबाइल फोनमा रेकर्ड भएको भिडियोमा लामिछानेसहित तीन जनाका कारण आफूले आत्महत्या गरेको शालिकरामले बताएका थिए ।
लामिछानेलगायत तीनैजना साउन ३० गते काठमाडौंबाट समातिएका हुन् । पुडासैनी पनि पहिला रविकै कार्यक्रम सिधा कुरा जनतासँगको टिमका सदस्य थिए । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध १० दिनपछि आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो ।

Page 8
सम्पादकीय

बहसमा गयल गाउँ

नगरपालिकाको संख्या जतिसुकै थपिए पनि देश अझै गाउँ नै गाउँले बनेको छ । पछिल्लो समय भने तिनै गाउँहरू रित्ता–रित्ता र घरहरू खाली–खाली छन् । सिंहदरबारको अधिकार स्थानीय तहहरूमा पुगिसक्दा पनि बसाइँ हिँड्ने क्रम रोकिएको छैन । पहाडबाट मानिसहरू कि सहर पसेका छन् कि तराई झरेका छन् । गाउँमै बसेका पनि अधिकांश युवा रोजगारीका लागि मुलुकबाहिर छन् । तीमध्ये धेरैका छोराछोरी शिक्षादीक्षाका लागि सहरमा छन् । गाउँमा वृद्धवृद्धा मात्रै छन् । स्थानीय तहले योजनाहरू लागू गर्दा पनि लाभान्वित हुनेहरू छैनन् ।
बैतडीको मेलौली नगरपालिकाको विशालपुर गाउँ यस्तै एउटा उदाहरण हो । गाउँका ४१ परिवारमध्ये ३० घर बसाइँ सरी कैलाली र कञ्चनपुर गए । उतै मग्नमस्त छन् । गाउँ सुनसान छ । विकासका योजना भने फालाफाल छन् । गत वर्ष मात्रै २ करोड रुपैयाँको सिँचाइ योजना बन्यो । यस वर्ष पनि ५० लाखभन्दा बढीका योजना गाउँमा परेका छन् । छिमेकी गाउँपालिका भागेश्वर–४ मा मात्र यस वर्ष १ सय ५२ योजनामा बजेट छ । गाउँ भने रित्तै छ । कतिसम्म भने, भागेश्वर वडाअध्यक्ष रतनबहादुर विष्टले सार्वजनिक सुनुवाइ गर्दा पनि ४ कर्मचारी र ३ उपभोक्ता मात्रै थिए । स्थानीय तहले अघि सारेकै काममा बाहिरबाट कामदार ल्याउनुपर्ने अवस्था छ ।
पहाडका दुर्गम गाउँहरूमा जतिसुकै विकास गतिविधि बढे पनि आधारभूत सुविधा अझै अभाव छ । त्यही कारण, नेपालमा बसाइँ सराइ गर्नेमध्ये ८० प्रतिशतभन्दा बढी गाउँबाट अन्यत्र हिँड्नेहरू छन् । २०६८ सालको जनगणनाले धेरै पहाडी जिल्लाको जनसंख्या ऋणात्मक देखाएको थियो । काठमाडौं जिल्लाको जनसंख्या वृद्धिदर झन्डै पाँच प्रतिशत थियो भने मनाङको झन्डै चार प्रतिशत ऋणात्मक । यसको मूल कारण जन्म र मृत्युदर नभएर उही बसाइँ सराइ हो ।
गाउँप्रति विकर्षणका कारण अनेक छन् । गाउँमा यातायातलगायतका पूर्वाधार छैनन् । रोजगारीका अवसर छैनन् । शिक्षा र स्वास्थ्यमा सहज पहुँच छैन । कतिपय गाउँमा खानेपानीसमेत छैन । कति गाउँ विपत्तिद्वारा प्रताडित छन् । यिनै कारण कोही गाउँमा अडिइरहन सक्दैन । फेरि, हिजोको जस्तो आर्थिक चरित्र पनि निर्वाहमुखी कृषि होइन । अनि, स्वाभाविक रूपमा मानिसहरू तराई र सहरजस्ता सुगम स्थानतिर आकर्षित छन् । जहाँ सुरक्षा सुनिश्चितता, रोजगारी उपलब्धता, सामाजिक–आर्थिक र शैक्षिक अवसर, स्वास्थ्यमा पहुँच जस्ता सबै पक्ष तुलनात्मक रूपमा बढी छन् ।
बढ्दो बसाइँ सराइले हाम्रो जनसांख्यिक सन्तुलनमा पार्ने असरबारे अध्ययनको खाँचो छ । जनसंख्या समृद्धिको प्रयोगकर्ता मात्र होइन परिचालक पनि हो । यसको आकार र बनोट जस्तो हुन्छ, विकासका रूपरेखाहरू त्यसैगरी तय हुन्छन् । अहिलेको विश्वमा मानव शक्ति नै सबैभन्दा ठूलो पुँजी हो । गाउँमा त्यही पुँजी रित्तिँदै छ । बसाइँ सराइले आर्थिक केन्द्र पनि सँगसँगै सार्छ । पहाडी गाउँमा जमिन बाँझै छ, सहर र तराईमा उब्जाउ हुने जमिनमा घरैघर । गाउँबाट दक्ष जनशक्ति पलायन भइरहेका छन् । राज्यले टाउको गनेर गर्ने लगानी पनि उनीहरू गएतिरै थुप्रिँदै गएको छ ।
गाउँ गुल्जार बनाउन मात्र होइन, तराई र सहरमा जनसांख्यिक चाप कम गर्न पनि सायद यो प्रवत्तिमा कमी आउन जरुरी छ । तराईमा जति चाप बढ्छ, त्यति त्यहाँका जंगल र चुरे विनाश बढ्छ । फेरि, तराई र ठूला सहरले कतिसम्म जनसंख्याको चाप धान्लान् ? अबको दुई दशकमा काठमाडौंको जनसंख्या ८० लाख पुग्छ, भनिँदैछ । बसाइँ सराइ व्यक्तिको स्वतन्त्रता विषय हो । तर, सरकारी व्यवस्थापनले यस्तो प्रवृत्ति घटाउन सकिन्छ । सर्वप्रथम, देशमा बस्ती विकास कसरी गर्ने भन्ने सोचकै खाँचो छ । पुरानै शैलीमा गाउँहरूलाई टिकाउन आवश्यक भए/नभएको पनि विमर्श जरुरी छ । सबै जनताको भलाई जसरी हुन्छ राज्यले त्यस्तै शैली अपनाउनुपर्छ । गाउँप्रति आकर्षण बढाउने विषय सार्वजनिक बहसमा बिल्कुल गयल छ । व्यवस्थित सहरीकरण र ग्रामीण बस्ती विकास थाल्न समय लाग्न सक्छ, तर यही शैलीको बसाइँ सराइ रोक्न पाइला चाल्न सकिन्छ । त्यसका लागि गाउँमै उत्पादनमूलक रोजगारीका अवसर सिर्जनामा जोड दिनुपर्छ । साना तथा घरेलु उद्योगहरू प्रवर्द्धन गर्नुपर्छ । सहरका सुविधाहरू गाउँ छिराउनुपर्छ ।

दृष्टिकोण

संकटमा पहाडे जीवन

- कृष्णप्रसाद पौडेल

...धेरै वर्ष लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्किंदा
बातैपिच्छे भन्ने गर्छन् लाहुरेहरू
साला पहाड मे क्या हैं...
हो, केही छैन साला पहाडमा
केही छैन, तर जरुर केही छ, पहाडमा
जस्तो
नवजात शिशु मरेका आमाहरूझैं
असाध्य पीडामा आँसु बहाइरहेका...

यी र यस्तै कविताका हरफमा मीनबहादुर विष्टले पहाडबारे पहाडीया मनको मर्म समेट्नुभएको छ । उहाँका लाहुरेले यस्तो किन भने होलान् ? साँच्चै के छ त पहाडे जीवनमा ? कुरा सुरु गरौँ, पहाडकै अस्तित्वबाट । पृथ्वीको सतहमा २५ प्रतिशत भूभाग पहाड र हिमाल छ । यो क्षेत्र करिब एक अर्ब मानिसको बासस्थान पनि हो । भूधरातल र उचाइका कारणले फरक–फरक सूक्ष्म जलवायु र जैविक विविधता यसका मुख्य विशेषता हुन् । यो क्षेत्र विश्वकै दुर्लभ, बहुगुढाकारी र औषधीजन्य प्रजातिहरूको स्रोत भण्डार पनि हो । यो पृथ्वीभरिकै स्वच्छ पानी भण्डार र पानीचक्रको महत्त्वपूर्ण हिस्सासमेत हो । पहाडले जीवनको मूल आधार पानीको प्राकृतिक रूपमा शुद्धीकरणको महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
तर यस्तो विशिष्टता भएको यो क्षेत्र मैदाने (पश्चिमी) दृष्टिकोणमा आधारित आधुनिक विकासको परिभाषा र अभ्यासले निरन्तर उपेक्षित भइरहेको छ । खासगरी यस क्षेत्रमा बसोबास गर्ने मानव समुदायको जीवनको मूल आधार पर्यावरणीय कृषि निरन्तर विघटित भइरहेको छ । औद्योगिक विकासको विस्तारसँगै संसारभरि नै यस्तो पहाडे कृषि ओरालो लाग्ने क्रम तीव्र छ । । हामी पनि यसबाट अछुतो छैनौँ र यसको प्रभाव क्रमशः देखिँदै आएको छ । यससँगै सिंगो पहाडे जीवन पलायनको संघारमा छ ।
सबैभन्दा कान्छो पहाड चुरेसँग जोडिएको हाम्रो तराई/मधेसको पर्यावरण, सामाजिक व्यवहार र संकृतिमा केही भिन्नता भए पनि यहाँको कृषि प्रणाली मूलतः पहाडे पर्यावरणीय कृषि प्रणालीमा नै आधारित छ । यसरी हेर्दा नेपाल समग्रमा पहाडी मुलुक नै हो । छिमेकीको मैदाने कृषिसँग प्रतिस्पर्धा गर्न नसकेर हाम्रो कृषि पलायन हुँदा अहिले खानेकुराको बढ्दो आयात र युवा जनशक्तिको निर्यात नै हाम्रो समृद्धिको नियति बनेको छ । खेती गरिँदै आएको जमिन बाँझो हुँदैछ । गाउँहरू रित्तिँदैछन् । बाटो छेउ, सहरका केन्द्र र सम्म मैदानमा स्मार्ट सहरका नाममा कंक्रिटको जंगल बनाउने अघोषित प्रतिस्पर्धा चलिरहेको छ । पानी भएका उर्वर जमिन सहरी विकासका योजनाका रोजाइमा छन् । खेतीपाती निमुखाको पेसा बन्दै बारी–कान्ला हुँदै भीर–पहरामा सरेको छ ।
विविधतापूर्ण कृषि उत्पादनमा आधारित हाम्रो स्वस्थ खाद्य संस्कृति पलायन भएको छ भने आयातीत पत्रु खाना हाम्रो आधुनिक जीवनशैली बनेको छ । माटो र खानामा रसायन र विष मिसिएका छन् । मुख्यतः माटो, पानी, हावा विषाक्त हुँदै जाँदा पर्यावरण र प्रकृति तहस–नहस हुने प्रक्रिया तीव्र भएको छ । यसले माटो र मानिसको जीवन पद्धतिमा व्यापक फेरबदल आएको छ । माटोमा सूक्ष्म जीवाणुहरूको वंशनाश हुँदैछ भने मानिसमा नसर्ने दीर्घरोग निरन्तर बढिरहेको छ । अस्पताल यस्ता बिरामीको भिडले मेला लाग्ने क्षेत्रजस्तै भरिभराउ भएको छ ।
मैदाने विकासले बाँडेको तर सीमित वर्गलाई मात्र सम्भव भौतिक सुखसुविधा र भोगविलासका तीव्र आकांक्षाले परस्परको सहकार्य, सद्भाव र सहयोगको सामाजिक मूल्य–मान्यतामा व्यापक ह्रास आएको छ । गाउँमा समेत अब पैसा नभई पात पनि नहल्लिने भएको छ । यसले समाजका अन्तरनिर्भरताका सम्बन्धहरू चिसिएका छन् । पारिवारिक सम्बन्धहरूसमेत छिटछिटो विघटित भइरहेका छन् ।
पहाडे पर्यावरणीय कृषिमा आधारित जीवनशैलीका आफ्नै विशेषता र सीमा छन् । मूलतः यस्तो कृषि प्रणाली मानव समाज, पर्यावरण र प्रकृतिसँग एकापसमा एकाकार भएर जीवन्त हुन्छ । यसलाई सही तरिकाले बुझ्ने सोच र प्रविधिमा आएको फेरबदलसँगै उन्नत बनाउने व्यवहार नपुग्दा अहिले यो निरन्तर खस्किँदै गएको छ । यसको प्रभावले हजारौँ वर्षको पर्यावरणीय कृषिमा आधारित पहाडको जीवन पद्धति उजाड बन्दै गएको छ । यसरी पहाडे कृषि बाँझिँदै जाँदा यहाँ निर्मित हजारौँ विविध मानवीय सभ्यता र संस्कृति लोप हुने क्रममा छन् । यसले गर्दा समग्र पहाडे जीवन पद्धतिसहित तटीय मानव समाज र पर्यावरणको भविष्यसमेत जोखिममा परेको छ ।
यसको मूल कारक भने उपनिवेशको फेरो समाउँदै भित्रिएको मैदानी कृषि र औद्योगिक विकासले दलाल पुँजीको बर्चस्वसँगै आधुनिक विकासका नाममा पहाडमा समेत किल्ला जमाउन सफल हुनु हो । ठूला उत्पादन प्रविधि, यान्त्रीकरण र भौतिक सुविधा आधुनिक विकासका मुख्य मानक हुन् । तर पहाडको वास्तविकतामा यस्तो विकास ल्याउन खोज्दा यो नै विनाशको कारक बनेको छ । सँगै यस्तो विकासका लागि भन्दै गरिने प्रकृतिको दोहनले वन, वातावरण र खनिज स्रोत सबैभन्दा प्रभावित बनेका छन् भने माटो, पानी र हावा प्रदूषित भएको छ । यस्तो भौतिक सुविधामा आधारित विकासे मानकका सामु पहाडको जीवन निरीह छ । जलवायु परिवर्तनको प्रभाव यसको एउटा सानो उदाहरण मात्र हो ।
अहिले पहाडी क्षेत्र आधुनिक विकासका बाधकका रूपमा चित्रित भएको छ । किनकि यसले पश्चिमी भनेर चिनिने मैदाने सोच, योजना र प्रविधिको जबर्जस्त विस्तार गर्न बाधा पुगेको भ्रमले डेढअक्कली शासक र तिनका दलालमा छटपटीजस्तै भएको छ । त्यसैले देशीय मानचित्रमा पहाडी भूगोल मैदाने विकासको तुलनामा ओझेलमा पर्दै किनारा लाग्ने क्रममा छ । पहाडी सभ्यता, संस्कृति र पर्यावरणीय विविधता निरन्तर विघटित भएको छ भने सिंगो पहाडे समाज पलायन हुँदै खोँच र मैदानतिर झरेको छ । विडम्बना, आधुनिक विकासको परिभाषामा यो विविधतायुक्त क्षेत्र गरिबी, अभाव र भोकग्रस्त क्षेत्रका रूपमा चित्रित छ । यसले अविकसित, असभ्य र पछौटे मानिस बस्ने कष्टकर क्षेत्रको परिचय बनाएको छ । यसरी मैदाने विकासको दौडमा सामेल हुन नसकेको सिंगो पहाडे जीवन पद्धति हीनताबोध, अपमान र कुण्ठा पालेर आफ्नै भाग्यलाई दोष दिँदै पलायन हुने सपना बोकेर दोबाटोमा उभिएको छ । यस्तो सामाजिक मनोविज्ञान हाम्रा दैनिक व्यवहारमा र सरकारका नीति, योजना र कार्यक्रममा समेत प्रतिविम्बित छ ।
यसरी मानवीय सभ्यताको उद्गमस्थल पहाडको समाज, संस्कृति र प्रकृतिको अन्तरसम्बन्धलाई आधुनिक विकास र यसको जगमा बनेको औद्योगिक शिक्षाको एकलकाँटे, एकांगी र एकाधिकारवादी अवधारणा र अभ्यासले पुरै ओझेलमा पारेको छ । पहाडे समाज, संस्कृति र पर्यावरणमा मिसिएको विकासको खहरेले पहाडी जीवनशैली र यसका मूल्य–मान्यतालाई धमिलो बनाउने मात्र होइन, तलैदेखि उप्काएर बगाउँदै र विघटित गर्दै मैदानतिर झारेको छ । यो कुराको मर्म पहाडमा विघटित समाज, यसका मूल्य–मान्यता, मैदानमा भइरहेको सामाजिक असहजता र विकासले पर्यावरणमा पारेको प्रभावका कारण उत्पन्न दुष्परिणाम र यसले तटीय क्षेत्रमा मच्चाएका वितण्डा र विनाशलीला हेर्दा जगजाहेर हुन्छ ।
पानी र जवानी पहाडमा टिक्न नसक्ने विम्ब प्रस्तुत गरेर मैदानी विकासे सोचले पहाडे जीवन पद्धतिको अपमानमात्र गरेको छ । यस्तो विम्ब भने मैदाने आदिबासीका रैथाने संस्कृतिमा डोजर चलाउँदै पहाड चढेको हो भन्ने कुरा भने भुल्नु हुँदैन । यसरी हेर्दा तथाकथित आधुनिक विकासले हाम्रोजस्तो पहाडी समाज तथा पर्यावरणमा व्यापक नकारात्मक प्रभाव परिरहेको छ । तर यस्ता प्रभावबारे पर्याप्त आलोचनात्मक बहस हुनसकेको छैन । यस्तो बहस र विश्लेषणको अगुवाइ गर्नुपर्ने बौद्धिक जमात र राजनीतिक नेतृत्व कुहिराको कागजस्तै हराएका छन् । किनकि यो जमातको ठूलो हिस्सा डेढअक्कली छ । बाँकी रहेका अन्य मरिचजस्तै आफ्नै रागले चाउरिँदै गएका छन् ।
आलोचनात्मक चेत गुमाउँदै गएको शासक वर्ग कुण्ठित मानसिकताबाट ग्रस्त छ । त्यसैले यो सधैं भयभित र त्रसित छ । यसले समाजका अन्य आयामहरूसँगै आफै हुर्केको विविधतायुक्त पहाडे विशेषता र यसका सीमा सबै बिर्सेको प्रतीत हुन्छ । उदाहरणका लागि यसले हाम्रो भूगोल र विविधतापूर्ण प्रकृतिलाई आत्मसात गर्न नसकेकै कारण कृषिक्षेत्रको विकास गर्न पर्यावरणीय कृषिको बाटो छाडेर हरित कान्ति कृषिलाई नै आधार बनाउने असम्भवप्रायः हठ बोकेर हिँडेको छ ।
आधुनिक विकासको दबाबमा आफ्ना आधारभूत मूल्य–मान्यता र आर्य संस्कृतिबाट विमुख हुँदै गएको पुरुषप्रधान यो वर्ग विकास र समृद्धिका नाममा दलाल पुँजीवादको दासताको सिकार भएको छ । यसैको सिको गरेर यसले महिलामाथि चरम शोषण गरेको छ । बाहिरबाट बाध्यताजस्तो देखिने नेपाली ग्रामीण समाजको महिलाकरण यसैको परिणाम हो भन्दा अर्घेल्याइँ हुँदैन । यो वर्ग यस्तो दासताको वशमा परेर मुर्कट्टा संस्कृतिमा रमाउँदै आफ्नै यथार्थ धरातल बिर्सेको छ । यो कहिल्यै उम्किन नसक्ने समृद्धिको दलदलमा आफै फँस्दै गएको मात्र छैन, आम नेपालीलाई समेत डुबाउँदै गएको छ ।
यस्तो मैदाने विकासको प्रभावले पहाडको भविष्य अझ कस्तो होला भन्ने अन्दाज गर्न हामीलाई धेरै कठिन छैन । किनकि यस्तो पहाडी विशेषताको जीवन पद्धति तहस–नहस हुँदै खण्डहरमा परिणत भएका धेरै उदाहरण हाम्रासामु प्रशस्त छन् । यसबाट हामी के पाठ सिक्छौं र हामी कसरी फेरिन तयार हुन्छौं भन्ने कुरामात्र फरक हो । तसर्थ अब ढिलो नगरी हामीले थेग्न नसक्ने मैदाने विकासको विकल्प खोज्नुको अर्को कुनै उपयुक्त उपाय छैन । यसले भित्र्याएका विसंगति र विकृतिको प्रभावबाट पाठ सिक्दै भविष्यमा यस्तो प्रभावबाट मुक्त हुन सघाउने बाटो तय गर्ने बेला भने घर्किंदैछ ।

सम्पादकलाई चिठी

हृदयविदारक वास्तविकता

मृगौला पीडित सोनु सिनालको वास्तविकता पढ्दा हृदयविदारक लाग्यो । सोनुले बाँकी उमेर प्रधानमन्त्रीलाई छ है भन्नुभएको छ । यसमा सोनुजस्ता लाखौं पीडितको दर्दनाक अवस्था चित्रण हुन्छ । हो, वास्तविकता यही हो, यहाँ जटिल प्रकारका उपचारमा कैयौं हन्डर खानुपर्ने बाध्यता छ । उच्चस्तरको उपचार पद्धति भइदिएको भए देशका कार्यकारी प्रधानमन्त्रीको उपचार यहीं हुन्थ्यो । अनि सोनु सिनालजस्ता लाखौं पीडितले उपचारका लागि छटपटिनु पर्थेन । धेरैले मुलुकको कार्यकारी नेतृत्व लिए । तर स्वास्थ्यस्थिति सुधार्नतर्फ उचित ध्यान दिएनन् ।सामान्य समस्या हुँदा पनि विदेश सयर गर्ने मानसिकता कायम भयो । तर आम नेपाली जो सक्दैनन्, तिनले भने अकालमै ज्यान गुमाउनुपर्ने अवस्था बन्यो । के हाम्रा प्रधानमन्त्रीलाई थाहा छैन, सबै सिंगापुर र व्यांकक गएर उपचार गराउन सक्दैनन् भन्ने ? यस्तो थाहा हुँदाहुँदै उनले किन आफ्नै देशमा उच्च स्तरको उपचार सेवा सुचारु गर्ने प्रबन्ध गर्न सकेनन् ?
रोग लागे पनि आफ्नै देशमा उपचार हुन्छ, राज्यको ढिकुटी रित्याएर अर्काको देशमा जानु पर्दैन भन्ने दिन कहिले आउँछ ? हामी सर्वसाधारणको पहुँचमा हुनेगरी उच्चस्तरको स्वास्थ्य उपचारसेवा आफ्नै देशमा छ भनी गर्व गर्ने दिन कहिले आउँछ ? माथिल्लो निकायमा आसिनहरूको दाँत फुकाल्न पनि विदेश जानुपर्ने परिपाटीको अन्त्य कहिले हुन्छ ? अहिले भएकै जनशक्ति र प्रविधिलाई व्यवस्थित गर्नसके मात्र पनिछिटोछरितो तवरबाट आम मानिसले केही राहत पाउने थिए । यसतर्फ किन ध्यान जाँदैन ? उपचार गर्न विदेश जाने होइन, उनीहरूले गरेको प्रगतिको नमुना हेर्न जाने हो । उनीहरूले गरेको विकासको सफलता हेर्न जाने हो, अनि आफ्नो देशमा आएर उक्त सिकाइलाई कसरी लागू गर्न सकिन्छ भनी विकल्पहरूबारे बहस चलाउने हो । तर यहाँ त त्यस्तो हुँदैन । एउटा मृगौला रोगी डायलाइसिस गर्न नपाएर छटपटिँदै मृत्युसँग मुकाविला गरिरहन्छ भने उच्च ओहदामा बस्नेहरू राज्यको लगानीमा विदेशको उच्चस्तरको उपचार खाजी–खोजी बाहिर जान्छन् । यस किसिमको परिपाटीको अन्त्य गर्नुपर्छ ।
– गोविन्द विक, बूढानीलकण्ठ नपा–१२,
कपन, काठमाडौं


प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको विषयप्रति अहिले सामाजिक सञ्जालमा विरोधका स्वरहरू उठिरहेका छन् । मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौलाले एन्टीबडी बढी मात्रामा उत्पादन गरिरहँदा उनको स्वास्थ्यलाभको कमना गरौं । यो अवस्थामा विरोधका स्वरहरूभन्दा पनि सरकार प्रमुखको स्वास्थ्यस्थिति सुधार होस् भन्ने कामना गर्न जरुरी छ । सरकार प्रमुख बिरामी हुनु भनेको देश बिरामी हुनु हो ।
तर अब कतिन्जेल नेताहरू विदेश उपचार गराउन जानुपर्ने हो ? पटक–पटक सरकार हाँक्ने नेतहरू आफ्नो स्वास्थ्य उपचार भन्दै विदेश जानुले पैसा नहुने गरिब बिरामीहरू रुन सिवाय अरु केही गर्न सक्दैनन् । उनीहरू पनि नेपालका अस्पतालप्रति विश्वास गर्दैनन् । अब प्रधानमन्त्री ओलीले नेपालमै सबै उपचार सम्भव छ, म पनि यहींउपचार गर्छु भनी गरेर देखाउन सक्नुपर्छ । स्वास्थ्य परीक्षणको विश्वसनीयता दिलाउन सक्नुपर्छ ।
– नवीनकुमार देवकोटा, पञ्चदेवल विनायक–२, अछाम

सम्पादकलाई चिठी

किन बढ्दैछ, आत्महत्या ?

विश्वको आँकडा हेर्ने हो भने साना–ठूला, धनी–गरिब सबै देशमा आत्महत्या जटिल समस्या बनेको छ । सन् २०१६ मा विश्व स्वास्थ्य संगठनले प्रत्येक १ लाख जनसंख्यामा कतिले आत्महत्या गर्छन् भनी तथ्यांक सार्वजनिक गरेको छ । त्यस अनुसार गायना दक्षिण अमेरिकी देशमा सबभन्दा बढी अर्थात् ३०.२ जना र उत्तर अमेरिकी देश बार्बाडोसमा ०.४ अर्थात् विश्वकै कम देखिन्छ । उक्त तथ्यांकले विश्वको औसत अंक १०.६ देखाउँदा अमेरिका र जापानजस्ता विकसित देशमा सो दर क्रमशः १३.७ र १४.३ छ । त्यतिबेला सार्क मुलुकहरूको स्थिति यस्तो थियो : भारत : १६.५, भुटान : ११.६, श्रीलंका : १०.२, नेपाल : ९.६, बंगलादेश : ६.१, पाकिस्तान : ३.१ र माल्दिभ्स : २.७ ।
नेपालकै जस्तो अंक भएका मुलुक निदरल्यान्ड र तान्जानिया छन् । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको उक्त तथ्यांक विश्वका अन्य मुलुकको स्थितिसँग तुलना गर्दा हामी त्यति झस्किनुपर्ने अवस्थामा थिएनौं । तर नेपालको हालै प्रकाशित आत्महत्या सम्बन्धी विवरण हेर्दा नआत्तिने कोही देखिँंदैन । हरेक दिन १५ जनाले ज्यान फाल्ने र यसरी मृत्युवरण गर्नेमध्ये ५६ प्रतिशत युवा वर्ग रहने गरेको परिस्थितिले मुलुकको सामाजिक अवस्था विकाराल बन्दै गएको प्रस्ट हुन्छ । छोटो अवधिमै समस्या दोब्बर भएको प्रस्ट हुन्छ ।
पश्चिमी शिक्षा, शैली, खानपानको कुप्रभाव, बेरोजगारी, मुलुकभित्र खुट्टा टेकेर दस नंग्रा खियाउँदा पनि हातमुख जोड्न नसकेको अवस्था, सामाजिक सुरक्षामा सरकारको उदासीनता, धर्म, संस्कार, परम्परा, दर्शन, नैतिक शिक्षाको तेजोवध भएको स्थितिलाई आत्महत्याको प्रमुख कारण मान्न सकिन्छ । छोटो समयमा दैनिक आत्महत्या गर्नेको संख्या १५ बाट २५ पुगेर नेपालले विश्वका सबै मुलुकलाई जित्ने अवस्था नआउला भन्न सकिँदैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

सम्पादकलाई चिठी

पदपूजक समाज

सोमबार प्रकाशित अच्युत वाग्लेको ‘वार्द्धक्यतन्त्रका भड्खालाहरू’ रोचक छ । वार्द्धक्यतन्त्र वा वृद्धतन्त्रको राज्यसत्तामा हालीमुहाली हुनाले मुलुक चौपट भएको भन्नचाहिँ अलिक मिल्दैन । उमेरभन्दा पनि व्यक्तिको सोचले राजनीतिक, आर्थिक,
सामाजिक परिवर्तनमा भूमिका खेल्ने कुरालाई लेखकले आत्मसात नगरेको पाइयो । युवा पुस्ता असक्षम तथा निकम्मा भएर बूढाहरूले मौकामा चौका हानेका त हैनन् भनी लेखकले किन नबुझेका होलान् ?
पदीय लुछाचुँडीको सन्दर्भमा भने नेपाली समाज नै पदपूजक छ । पदमा बसेको मान्छेलाई मात्रै सम्मान गर्ने र पदबाट बाहिरिँदा टेरपुच्छर नलाउने समाजको प्रवृत्तिलाई राम्ररी बुझेका नेताहरूले त्यसैकारणले आजीवन पदमा बसिरहन मरिहत्ते गरेका हुन् कि ? प्राकृतिक सम्मानको कुरा गर्दा समाजमा अझै त्यस्तो चेत पलाइसकेको छैन । स्वार्थै–स्वार्थको परिबन्दमा जकडिएको समाज नै विकृति तथा विसङ्गतिको मूल जड हो । ‘जेरोन्टोक्रेसी’को जकडबाट मुक्त हुँदैमा सबै क्षेत्रमा कायापलट हुन्छ भनी सोच्नु बेकार हो ।
– एसपी बडु, कृष्णपुर–६, कञ्चनपुर

 

Page 9
दृष्टिकोण

राष्ट्रगानको इज्जत

- राजेन्द्र महर्जन

फिल्म सुरु हुनुअघि हलमा राष्ट्रगान बज्यो । भारत सरकारले तोकेको नियम र सर्वोच्च अदालतले दिएको आदेश अनुसार सबै दर्शकले उभिएर राष्ट्रगान गाए । अरमान अलीले सतर्क भएर गाउनचाहिँ गाए, तर उठ्न भने सकेनन् । राष्ट्रगान सकिँदा–नसकिँदै पछाडिको दर्शकले टिप्पणी गर्‍यो, ‘हेर त, अगाडि एकजना पाकिस्तानी बस्या रैछ ।’
टिप्पणी गर्ने अधबैंसे दर्शक टिठलाग्दो तरिकाले हाँसिरहेको देखेर अरमान अलीको मनमा प्रश्न उठ्यो– ‘उनीहरूले मलाई अमेरिकी, बर्मेली, चिनियाँ किन भनेनन् ? पाकिस्तानी नै किन भने ? कोही बिमारीका कारण वा विकलांगताका कारण बसिरहेको छ भने पनि हेर्दै नहेरी कसैलाई पाकिस्तानी भन्ने ? यो कस्तो राष्ट्रवाद हो ?’
मस्तिष्क पक्षाघातसँगै जन्मिएका अरमान अली त्यस्ता पारा सुटिङका खेलाडी हुन्, जसले तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीबाट ‘सर्वश्रेष्ठ विकलांग कर्मचारी’ को पुरस्कार पाएका थिए । हिन्दुवादी राष्ट्रवादका अगुवा वाजपेयीकै दल, त्यसका अनेक संगठन र नेता–कार्यकर्ता फिल्म सुरु हुनुअघि हल–हलमा राष्ट्रगानसँगै स्वस्तिक चिह्न र कुम्भमेलाको लोगो पनि प्रदर्शन गराउन लागिपरेका छन् । उनीहरूको राष्ट्रवादी भाष्य र हिन्दुत्ववादी मनोविज्ञानमा, उभिएर राष्ट्रगान नगाउने, ‘भारत माता की जय’ नभन्ने सबै पाकिस्तानी हुन्, विदेशतिर लखेट्न र मारिनयोग्य प्राणी हुन् ।
फिल्म हलमा उठेर राष्ट्रगान गाउनुपर्ने आदेश दिने मामिलामा नेपालले भारतबाट सिक्यो कि भारतले नेपालबाट, खोजीको विषय हुनसक्छ । केही दशक अघिसम्म ‘महेन्द्रमाला’ छिँडीमा लुकाएर हलमा फिल्म हेर्न जाने बेला ‘श्रीमान् गम्भीर...’ गाउनुपर्ने पञ्चायती नीति पटक–पटक ब्यहोरिएको थियो । त्यही नीति र व्यवहारबाट सिकेर भाजपा सरकार र सुप्रिम कोर्टले पनि फिल्म हलमा राष्ट्रगान बजाउने र अनिवार्य रूपमा उभिएर गाउनुपर्ने विवादास्पद नियम बनाएका हुन सक्छन् । अब भने पारिका हिन्दु राष्ट्रवादीबाट सिकेर वारिका राष्ट्रवादीहरूले पनि फिल्म हलमा संविधान दिवसको दिनदेखि राष्ट्रगान बजाउने पुरानो नीति ब्युँझाउँदै छन् । भारत र नेपालका राष्ट्रवादीहरूको आपसी सिकाइ र सहकार्यले सिमाना नाघेर ‘अन्तर्राष्ट्रवादी रूप’ लिएको छ ।

पञ्चायतको सांस्कृतिक विरासत
पञ्चायतकालमा हलमा राष्ट्रगान भनिने ‘श्रीमान् गम्भीर...’ बजाउने र दर्शकहरूले उभिएर राजा–महाराजको जयगान गाउनुपर्ने व्यवस्था थियो । राष्ट्रगान बज्दा सिटबाट नउठ्ने दर्शकलाई सादा पोसाकका प्रहरीले समात्दै अञ्चलाधीश वा जिल्ला प्रशासन कार्यालय लैजान्थे । उनीहरूलाई राजा र राजाले स्थापना गरेको पञ्चायत व्यवस्थाको अवहेलना गरेको आरोपमा सजाय दिइन्थ्यो । त्यस्ता सजायको समेत बेवास्ता गर्दर् ैसरकारी उर्दीको अवज्ञा गर्ने क्रम वृद्धि भएसँगै राष्ट्रगान बजाउने नीति प्रत्युत्पादक साबित भयो । त्यति बेलासम्म राजा र महापञ्चको समय घर्किसकेको थियो । उनीहरूले जतिखेर यस्तो सत्य बुझे, त्यतिखेरसम्म पञ्चायत व्यवस्थाको अन्त्य हुने बेला भइसकेको थियो ।
विडम्बना, पञ्चायत व्यवस्था अन्त्य गर्ने राजनीतिक दल र तिनको नेतृत्वमा पञ्चायती नीति र व्यवहारको मोह महापञ्चहरूमा भन्दा कम रहेनछ । ‘श्रीमान् गम्भीर....’ गाएर, महेन्द्रमाला पढेर राष्ट्रवादी भएकाले पनि हुन सक्छ, सजातीय नेताहरूले पञ्चायती नीतिलाई ‘मिस’ गरेको वा त्यसलाई ब्युँताउन खोजेको जगजाहेर छ । राजा महेन्द्रले प्रजातन्त्र र निर्वाचित सरकारलाई बर्खास्त गर्दै थालेको निर्देशित प्रजातन्त्र (गाइडेड डेमोक्रेसी) को आवरण थियो— पञ्चायती प्रजातन्त्र । पञ्चायती प्रजातन्त्रले दैनिक जीवनमा अभ्यास गरेको राष्ट्रवादका चार खम्बा थिए— राजतन्त्र, हिन्दुत्व, पहाडी प्रभुत्व र नेपाली भाषाको वर्चस्व । यिनै खम्बा बलियो बनाइराख्न चक्रपाणि चालिसे रचित ‘श्रीमान् गम्भीर गोर्खाली’ र ‘हामी गोर्खाली भाइ साराले’ मा सट्टा ‘नेपाली’ शब्द फेर्दै राणाकालीन सलामी गीत ‘श्रीमान् गम्भीर ..’ लाई नै राष्ट्रगानका रूपमा उपयोग गरिएको थियो ।
सारा नेपालीले गोर्खाली भूपति महाराजको सत्ता, सुख र समृद्धिका लागि भगवान्को कृपाको कामना गर्नुपर्ने गरी बनाइएको जयगानलाई जनजनको मनमा प्रचार–प्रसार गरियो भने आफ्नो तन्त्र र व्यवस्था दीर्घायु हुने विश्वास राजा र महापञ्चहरूमा थियो । कुनै पनि कुरा थोपरियो भने प्रत्युत्तरमा खतरनाक प्रतिक्रिया हुने सत्य यही जयगानमा देखिएको थियो । गिरफ्तार हुने सर्तमा पनि राजाको जयगान नगाउने र जनमुखी राष्ट्रगान लेखेर स्कुल–स्कुलमा गाउने चलनले राजतन्त्र र पञ्चायती व्यवस्थाले लादेको राष्ट्रगान विरुद्ध भएको सांस्कृतिक–राजनीतिक प्रतिरोधलाई जनाउँछ ।

प्रजा र नियन्त्रित प्रजातन्त्र
तन्त्र र व्यवस्था फेरिँदैमा राजनीतिक नेतृत्वका नीति, नियम र नियत फेरिन्छन् भनी सुनिश्चित नहुने रहेछ । राजा महेन्द्रले फैलाएको निर्देशित प्रजातन्त्र र एकल राष्ट्रवादले तथाकथित वामपन्थी नेतृत्वलाई कसरी गाँजेको रहेछ, पाइला–पाइलामा, शब्द–शब्दमा उजागर हुँदै छ । राजतन्त्र र पञ्चायत व्यवस्था फ्याँक्ने जनतालाई ‘प्रजा’ नै बनाउन आदेश, निर्देश र उपदेशको भरमा शासन गर्ने, ‘नागरिक’ हुन खोज्नेलाई नियन्त्रित गर्ने नीति–नियम बनाउने उपक्रम बढ्दो छ । खुलेआम रूपमा निर्देशित प्रजातन्त्रको पक्षपोषण गर्ने नयाँ राजाहरूले जनताका नैसर्गिक अधिकार कुण्ठित गर्ने उपक्रममै मनोरञ्जन स्थल र दर्शकको मनलाई पनि नियन्त्रित गर्न खोजेका छन् । संविधान दिवसदेखि नै फिल्म हलहरूमा राष्ट्रिय झन्डा फहराउन र राष्ट्रगान बजाउन–गाउन निर्देशन जारी गरेर तिनले पञ्चायती सांस्कृतिक–राजनीतिको भूतलाई ब्युँताएका छन् ।
हुन त नयाँ राजाहरूले ‘श्रीमान् गम्भीर...’ लाई ‘सयौं थुंगा फूल...’ ले सजिएको राष्ट्रगानले प्रतिस्थापन नगरेका त होइनन्, तर उनीहरूले फिल्म हलमा झन्डा फहराउने कामसँगै अनिवार्य रूपमा राष्ट्रगान बजाउने–गाउने दर्शकलाई उभ्याउने र त्यसको उपयोग गर्ने मामिलामा पञ्चायती सांस्कृतिक–राजनीतिमै नयाँ कडी थप्दै छन् । यसमा कसैले भाजपावादी कलाकार अनुपम खेरले जस्तै तीन घण्टा फिल्म हेर्न सक्नेले एक मिनेट उभिएर राष्ट्रगान गाउँदा संसार नै उल्टिँदैन नि भन्दै सरकारी नीति–निर्देशनको पक्षपोषण पनि गर्न सक्छ । तर देश–कालको ख्यालै नगरी राष्ट्रगान बजाउन–गाउन उर्दी जारी गर्ने नयाँ राजाहरूले खाना खाँदादेखि सुत्दासम्म पनि यस्तै उर्दीबाट जीवनको प्रत्येक पललाई नियन्त्रण गर्ने दुस्साहस गर्न सक्छन् । उनीहरूले नेपालीहरूलाई पनि भिक्टोरियाकालीन जनतालाई जस्तै जतिखेर ‘गड सेभ द क्विन’ बज्छ, त्यतिखेर जहाँ भए पनि सतर्क मुद्रामा उभिएर गाउनुपर्ने आदेश जारी गर्न पनि बेर छैन ।
मनोरञ्जन स्थललाई राष्ट्रवादी थलोमा फेर्ने, फिल्म हेर्नुअघि उभिएर राष्ट्रगान गाएपछि दर्शकहरू राष्ट्रवादी भाव र विचारबाट प्रेरित हुन्छन् भन्ने नीति र नियत उनीहरूमा देखिन्छ । तर उनीहरूका नीति र नियतमा मनोरञ्जनको थलो, त्यहाँबाट प्रसार हुने सांस्कृतिक उत्पादन र तिनका उपभोक्तालाई अनुशासित र नियन्त्रित गर्ने ‘निर्देशित प्रजातन्त्र’ को पुरानै दुर्गन्धबाहेक केही आउँदैन ।

एकलजातीय ‘राष्ट्र’ को गान
‘निर्देशित प्रजातन्त्र’ को अभ्यास गर्ने राष्ट्रवादीहरूको बोलीमा राष्ट्रगानमार्फत राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको प्रवर्धन गर्ने उपदेश झुन्डिएको हुन्छ, जबकि उनीहरूको ‘राष्ट्र’ एकजातीय स्वरूपकै छ । उनीहरूको प्रत्येक नीति, निर्णय, कार्यक्रममा राष्ट्रगान बजाएर, गाएर राष्ट्रियता सुदृढ गर्ने र राष्ट्रिय एकता कायम गर्ने कुरामा जोड पाइन्छ, जबकि उनीहरूको ‘राष्ट्रियता’ खासमा जातीयता नै हो, जसमा अन्य जातीयताका लागि स्थान छैन । लगभग सय वर्ष यतादेखि थालनी भएको राष्ट्रगानको परम्परा आफैमा पनि युरोपमा उन्नाइसौं शताब्दीमा उभारमा आएको एकलजातीय भाषिक राज्य (नेसन स्टेट) को महिमागानसँग जोडिएको छ । त्यसैले यस्ता युरोपली गान, शब्द र संगीतमा विविधता नहुनुमा अनौठो कारण छैन । नेपाल जस्तो बहुल पहिचान भएको देशमा त्यसको अन्ध नक्कल प्रत्युत्पादक हुन्छ ।
नेपालमा लोकतान्त्रिक गणतन्त्रका लागि, यसको भावी दशा र दिशानिर्देश गर्ने गरी लेखिएको मानिने ‘सयौं थुंगा फूल...’ मा ‘विविधता’ को महिमागान त गरिएको छ, यसमा पनि ‘एकता’ माथि अत्यधिक जोड दिइएको छ । भाषामा एकताको तत्त्व खोज्दा खस–नेपाली भाषाको एकल प्रभुत्व र प्रसारलाई बिनाप्रश्न, बिनासंकोच, बिनाग्लानि स्विकारिएको छ, जबकि लोकतान्त्रिक गणतन्त्रको आन्दोलनका क्रममा सडकको राष्ट्रगान बन्न सफल ‘गाउँ–गाउँबाट उठ...’ कै दर्जनौं राष्ट्रभाषामा अनुवाद र गायनको उदाहरण देशभित्रै उपलब्ध थियो । देशबाहिर पनि समावेशी लोकतन्त्रतिर लम्केको दक्षिण अफ्रिकाको राष्ट्रगानबाट पनि सहजै पाठ सिक्न सकिन्थ्यो, जसमा पाँच देशका एघार भाषाको प्रयोग गरिएको छ । गीतको भावमा जस्तै भाषामा पनि विविधता स्विकारिएको भए एक भाषाको प्रभुत्व रहेको एकात्मक केन्द्रीकृत नेपाली राज्य बहुलता र संघात्मकताको दिशातिर साँच्चै जान थालेको संकेत मिल्थ्यो ।

‘एकतामा विविधता’ खोइ ?
नेपाली समाज एकलबाट बहुल दिशातिर उन्मुख छ, राज्य भने बहुलता वा विविधता वा अनेकताबाट त्रस्त छ । त्यसैले राज्यका सञ्चालकहरू विविधताको सन्दर्भ आउनासाथ एकताको नारा लगाउन तम्सिहाल्छन् । बहुलता वा विविधता वा अनेकता वा भिन्नतालाई विखण्डन, विभाजन र अराष्ट्रिय पक्षको अर्थमा बुझ्ने–बुझाउने नयाँ राजाहरूको राष्ट्रवाद खतरनाक छ, राजा महेन्द्रको राष्ट्रवाद जस्तै । त्यस्तो खतरनाक दिशा र दशातिर जनतालाई हाँक्नुको सट्टा ‘विविधताको एकता’ (युनिटी इन डाइभर्सिटी) मात्रै होइन, ‘एकतामा विविधता’ (डाइभर्सिटी इन युनिटी) को पक्ष देखेमा सबैको भलो हुन्छ ।
अनेक नारा र निहुँमा जनतालाई नियन्त्रण र निर्देशित गर्दै प्रजामा होइन, नागरिकमा रूपान्तरण गर्ने हो भने दुइटा काम मात्रै गरे पुग्छ । एक, समान कदरको आकांक्षा । दुई, भिन्नतासहित बाँच्न पाउने स्वतन्त्रताको सम्बोधन । चार्ल्स टेलरका शब्दमा, भिन्नतासहित बाँच्न पाउने स्वतन्त्रता र समान कदरको आकांक्षालाई सम्बोधन हुने गरी बहुसंस्कृतिवाद (मल्टिकल्चरिजम) लागू गर्न सकियो भने द्वन्द्व कम हुन्छ । अतः नयाँ राजाहरूले हेक्का राखून्, भिन्नतासहितको समानता वा पहिचानसहितको समानता वा आत्मसम्मान र कदरसहितको समानता केवल राष्ट्रगान गाएर लागू हुँदैन । बहुसंस्कृति लागू नहुने गरी राष्ट्रगान गाउन जनतालाई जहाँतहीँ उभ्याउनु र राष्ट्रगानलाई सलामी गानमा झार्दै आफूले पिर्के सलामी लिनुको अर्थ राजनीतिक–सांस्कृतिक पाखण्डको फ्रदर्शन मात्रै हुन्छ ।

दृष्टिकोण

माइक्रोबायोलोजी ब्लुज

- चन्द्रमणि काफ्ले

त्रिविले विज्ञान तथा प्रविधि अध्ययन संस्थानमार्फत सामान्य विज्ञान (प्योर र बेसिक साइन्स) का विभिन्न विषयमा स्नातकोत्तर तह सञ्चालन गर्छ । विज्ञानका जटिल (एड्भान्स्ड) ज्ञान र वैज्ञानिक पद्धतिबाट शोध तथा अनुसन्धान र विज्ञानको सञ्चार कसरी गर्ने भन्ने शिक्षा स्नातकोत्तर तहमा प्रदान गरिन्छ । विज्ञानका यी विषयमा पनि उपविषय छुट्याएर विद्यार्थीलाई निश्चित क्षेत्रमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानले विशेषज्ञता प्रदान गराउँदै आइरहेको छ । उदाहरणका लागि, जीवशास्त्रमा स्नातकोत्तर गर्ने विद्यार्थीले पर्यावरणशास्त्र, माछाशास्त्र, कीटशास्त्र र परजीविशास्त्रमध्ये एकमा विशेषज्ञता हासिल गर्छन् र स्नातकोत्तर उपाधि लिइसकेपछि विज्ञान शिक्षण, विज्ञानकर्म र शोध क्षेत्रमा निपुण हुन्छन् । त्यस्तै, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको माइक्रोबायोलोजीमा स्नातकोत्तर गरिसकेकाहरू यसका चार उपविषय (मेडिकल, जनस्वास्थ्य, खाद्य र औद्योगिक माइक्रोबायोलोजी) मा ज्ञाता हुन्छन् । अध्यापन वा शोधकर्मका लागि कुनै प्राज्ञिक संस्थाले जनशक्तिको माग गरेको छ, तर त्यसका लागि स्वास्थ्य व्यवसायी परिषदद्वारा जारी लाइसेन्स आवश्यक छ भन्ने त्रुटिपूर्ण प्रावधान राखिएको छ भने, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र माइक्रोबायोलोजी केन्द्रीय विभागले यसविरुद्ध आवाज उठाउनुपर्ने हो । आफ्ना विद्यार्थीलाई नीतिगत उल्झनका कारण सडक आन्दोलनमा निस्किनुपर्ने बाध्यता आइपर्नु तिनका लागि लज्जाको विषय हुनुपर्ने हो ।

समस्याको सुरुआत
यसमा स्पष्ट रूपमा देखिने प्रमुख समस्या हो— विद्यार्थी संख्याका तुलनामा अति कम मात्रामा रोजगारीको सिर्जना हुनु । गुणात्मक रूपमा धेरै संख्यामा प्रोडक्ट निकाल्ने विज्ञान (भौतिकशास्त्र, कृषिशास्त्र, कम्प्युटर साइन्स आदि) का विद्यार्थीहरू स्नातकोत्तर तहपछि के गर्ने भन्ने समस्याबाट प्रताडित छन् । पछिल्लो ट्रेन्ड हेर्दा, अधिकांश विद्यार्थी विज्ञान तथा अनुसन्धानमा जागिरको सुरक्षा खोज्दै विदेश पलायन हुने गरेका छन् भने कतिपयले समय, शक्ति र धन खर्च गरेर आर्जन गरेको ज्ञानको माया मारेर अन्य पेसा अपनाएका छन् । भलै नास्टले थोरै संख्यामा अनुसन्धान कर्मका लागि जागिरको व्यवस्था गरेको छ । तर तलब तथा सुविधा अत्यन्तै न्यून भएका कारण विद्यार्थीहरू आकर्षित हुन सकेका छैनन् । माइक्रोबायोलोजी केन्द्रीय विभागका प्रोडक्ट पनि माथि उल्लिखित समस्याका भुक्तभोगी हुन् ।

माइक्रोबायोलोजीमा किन धेरै स्नातकोत्तर ?
करिब तीन दशकदेखि सञ्चालित स्नातकोत्तर तहको पढाइ पछिल्ला केही वर्षयता केन्द्रीय विभाग, आङ्गिक तथा निजी क्याम्पससमेत गरी करिब दस ठाउँमा हुने गरेको छ । त्रिवि र विज्ञान तथा प्रविधि अध्ययन संस्थानले भविष्यमा कति जनशक्ति खपत हुन्छ भनेर अध्ययनपछि मात्र अनेक कलेजलाई सम्बन्धन दिएको पक्कै होइन । त्यस्तो हुन्थ्यो भने माइक्रोबायोलोजी जनशक्तिको माग र आपूर्तिको सन्तुलन बिग्रिँदैनथ्यो ।
माइक्रोबायोलोजी केन्द्रीय विभाग र निजी क्याम्पसले आफूले सञ्चालन गरिरहेको स्नातकोत्तर तह आधारभूत विज्ञान (प्योर साइन्स) पढाइ हुने कार्यक्रम हो वा क्लिनिकल र अस्पतालमा आधारित (हस्पिटल बेस्ड एप्लाइड वा प्राविधिक साइन्स) भनी भर्ना हुन आउनेहरूलाई सुरुमै स्पष्ट पार्न सकेका छैनन् । त्यो पढाइले स्वास्थ्यकर्मी उत्पादन गर्ने हो कि प्राज्ञ तथा वैज्ञानिक भन्नेबारे विद्यार्थीलाई इमानदारीपूर्वक जानकारी दिनुपर्छ । कतिपय विद्यार्थी विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको माइक्रोबायोलोजी पढेपछि त्रिविकै चिकित्सा शिक्षा अध्ययन संस्थान अन्तर्गतको क्लिनिकल माइक्रोबायोलोजीसरह स्वास्थ्यकर्मीको लाइसेन्ससँगै जागिर पाइन्छ भन्ने धारणाका छन् । त्यसमाथि क्याम्पसहरू वास्तविकता बुझाउन चाहँदैनन्, किनकि विद्यार्थी घटाउनु छैन ।
२०७०/७१ मा विद्यार्थी आन्दोलनपछि माइक्रोबायोलोजी केन्द्रीय विभागले पाठ्यक्रम क्लिनिकल माइक्रोबायोलोजी र मेडिकल ल्याब टेक्निसियनसँग मिल्दोजुल्दो हुने गरी परिमार्जन गरेको छ । यो कदमले माइक्रोबायोलोजी केन्द्रीय विभाग आधारभूत विज्ञान पढाइ हुने संस्थाबाट क्लिनिकल र अस्पतालमा आधारित प्राविधिक विज्ञान पढाइ हुने संस्थातर्फ लम्कन चाहेको छनक दिन्छ ।

लाइसेन्सको आवश्यकता
नेपाल स्वास्थ्य व्यवसायी परिषदले पारामेडिक स्वास्थ्यकर्मी (ल्याब टेक्निसियन, हेल्थ एसिस्टेन्ट, सीएमए) लाई सम्बन्धित संस्थामा काम गर्न लाइसेन्स दिन्छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानले सञ्चालन गर्ने माइक्रोबायोलोजीमा स्नातकोत्तर गरी मेडिकल माइक्रोबायोलोजीमा विज्ञता हासिल गरेका विद्यार्थीलाई चाहिँ परिषदले कुनै स्वास्थ्य संस्थामा पर्याप्त तालिम नलिएको भनी त्यस्तो लाइसेन्स दिन आनाकानी गर्दै आएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानको पाठ्यक्रम स्वास्थ्यसम्बद्ध नरहेको र स्वास्थ्य विषय अध्यापन गर्न आफूसँग स्वीकृति नलिइएको परिषदको तर्क छ । अर्कातिर, परिषदले त्रिविकै क्लिनिकल माइक्रोबायोलोजीका स्नातकोत्तरलाई भने बिनारोकटोक लाइसेन्स दिँदै आएको छ ।
हाल देशको प्राज्ञिक क्षेत्रमा जागिरको खडेरीका मारमा परेका माइक्रोबायोलोजी स्नातकोत्तरहरूले क्लिनिकल माइक्रोबायोलोजी स्नातकोत्तरले जस्तै आर्थिक सुरक्षा खोज्नु स्वाभाविक हो । क्लिनिकल माइक्रोबायोलोजीका स्नातकोत्तर र मेडिकल ल्याब टेक्नोलोजीका स्नातक जनशक्ति अस्पताल तथा रुटिन डाइग्नस्टिक प्रयोगशालाहरूमा खपत हुँदै आइरहेका छन् । तर तिनै अस्पताल तथा प्रयोगशालामा माइक्रोबायोलोजी क्षेत्रमा सघन अनुसन्धानका लागि विज्ञानकर्म जानेको, शोध क्षेत्रमा निपुण र आवश्यक परेमा विज्ञान कम्युनिकेट (शिक्षण) गर्नसक्ने विज्ञ जनशक्ति त्यस्तो अनुसन्धानको अभावमा कार्यविहीन भएका छन् । त्यस्तो सघन अनुसन्धान माइक्रोबायोलोजीका स्नातकोत्तरहरूले सजिलै गर्न सक्छन् । त्यसैले स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्सको अत्तो थाप्नु अनावश्यक हो । यसका कारण माइक्रोबायोलोजी अध्यापन गराउने प्राज्ञिक क्षेत्रमा पनि केही लाइसेन्सधारी क्लिनिकल माइक्रोबायोलोजिस्ट र प्राविधिक विज्ञहरूको सिन्डिकेट बढ्ने लक्षण देखिएको छ ।
अज्ञात रोगले वर्षेनि कैयौं जीवन गुम्ने हाम्रो जस्तो देशमा माइक्रोबायोलोजी क्षेत्रमा अनुसन्धान अत्यन्तै संवेदनशील विषय हुनुपर्ने हो । ‘बुद्धको देश’ अचेल ‘अत्यधिक टाइफाइड संक्रमण हुने देश’ भनेर चिनिन थालेको छ । जटिल संक्रमणजन्य रोगको अनुसन्धान विदेशी वैज्ञानिक आएर गरेका छन्, जुन नराम्रो त होइन, तर नेपालकै वैज्ञानिक भने जागिर खोज्दै विदेश पलायन भएर यहाँ जनशक्तिको खडेरी हुनु दुःखद हो ।
नेपालका कतिपय अस्पताल तथा प्रयोगशालाले आफ्नो नामका पछाडि ‘अनुसन्धान केन्द्र’ झुन्ड्याउने गरेका छन्, जसको अर्थ हो— तिनमा निरन्तर अनुसन्धान हुन्छ । तिनका ‘रिसर्च ल्याब’ मा माइक्रोबायोलोजी क्षेत्रमा सक्रिय रूपमा अनुसन्धान हुन्छ त ? यसबारे नियमन आवश्यक छ । धेरै अस्पतालले रुटिन डाइग्नोस्टिक ल्याब मात्र चलाउने गरेका छन्, जसमा प्राविधिक कामका लागि माइक्रोबायोलोजीको विज्ञ जनशक्तिभन्दा स्वास्थ्य व्यवसायी परिषदबाट लाइसेन्सप्राप्त ल्याब टेक्निसिएनलाई प्राथमिकता दिने गरिएको छ ।

समाधानको पहल
२०७४ मा विद्यार्थी आन्दोलनपछि पुष्पराज खनालको संयोजकत्वमा गठित ‘माइक्रोबायोलोजी समस्या समाधान कार्यदल’ ले क्लिनिकल माइक्रोबायोलोजी र मेडिकल माइक्रोबायोलोजी पाठ्यक्रमको तुलनात्मक अध्ययन गरेको थियो । उसले आफ्नो प्रतिवेदनमा ‘चिकित्सा शिक्षा अध्ययन संस्थान अन्तर्गतको क्लिनिकल माइक्रोबायोलोजी कार्यक्रमले हेल्थ डेलिभरी सिस्टम वा अस्पतालमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको माइक्रोबायोलोजी कार्यक्रमका उत्पादनहरू रुटिन डाइग्नोस्टिक ल्याबमा कम अनुभव प्राप्त भए पनि दुबै प्रकारका प्रयोगशाला ‘अनुसन्धानात्मक तथा रुटिन डाइग्नोस्टिक ल्याबमा काम गर्न दक्ष भएको’ उल्लेख गरेको छ । उक्त प्रतिवेदनले विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको माइक्रोबायोलोजी स्नातकोत्तरका लागि प्रयोगात्मक अभ्यास एक वर्ष पुर्‍याई परिषदले दर्ता गर्नुपर्ने भनेर सिफारिस पनि गरेको छ ।

अड्केको हलो
माइक्रोबायोलोजी सङ्गर्ष समिति, २०७१ ले मेडिकल माइक्रोबायोलोजीका केही स्नातकोत्तरलाई स्वास्थ्य व्यवसायी परिषद र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको संयुक्त निर्णयद्वारा २०६८ मा जारी गरेको अस्थायी लाइसेन्सको नजिर र कार्यदल, २०७४ को प्रतिवेदनका आधारमा बिनासर्त लाइसेन्स उपलब्ध गराउन माग गरेको छ । तर कार्यदलको प्रतिवेदन आफैमा बाझिएको भन्दै परिषदले त्यसको निष्पक्षतामाथि नै प्रश्न उठाएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको माइक्रोबायोलोजी कार्यक्रमको परिमार्जित पाठ्यक्रम २०७०–७१ अनुसार, हेल्थ डेलिभरी सिस्टममा ६ महिना मात्र तालिमप्राप्त र चिकित्सा शिक्षा अध्ययन संस्थान अन्तर्गत तीन वर्ष हेल्थकेयर पढाउने संस्थामा प्रशिक्षित क्लिनिकल माइक्रोबायोलोजीका उत्पादनमा प्रतिवेदनले तात्त्विक फरक नदेखेको परिषद्को जिकिर छ । हेल्थकेयर सिस्टममा ६ महिना मात्र अनुभव भएको जनशक्तिलाई लाइसेन्स दिँंदा संवेदनशील स्वास्थ्यसेवाको गुणस्तर घट्ने परिषद्को ठम्याइ छ ।

सुझाव
विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको माइक्रोबायोलोजीका स्नातकोत्तर जागिरको सुरक्षाका लागि प्राविधिक क्षेत्रतर्फ जान चाहन्छन् भने त्रिवि र स्वास्थ्य व्यवसायी परिषद्ले मार्गप्रशस्त गरिदिनु उचित हुन्छ । माइक्रोबायोलोजी अध्ययनमा अब्बल मानिएका देशमध्येको अमेरिकाको नजिर हेर्ने हो भने पनि, क्लिनिकल र मेडिकल ल्याब साइन्सबाहेक माइक्रोबायोलोजीका अन्य उपविषयका स्नातक वा स्नातकोत्तरले कम्तीमा एक वर्ष तोकिएको शिक्षण संस्थामा इन्टर्नसिप गरेर लाइसेन्सका लागि परीक्षा उत्तीर्ण गरेपछि मेडिकल ल्याब साइन्टिस्टका रूपमा क्लिनिकल ल्याबमा काम गर्ने अनुमति प्राप्त गर्छन् । माइक्रोबायोलोजी समस्या समाधान कार्यदलले पनि एक वर्षको प्रयोगात्मक अभ्यासको सिफारिस गरेको छ । सोही अनुसार, माइक्रोबायोलोजी जनशक्तिलाई स्नातकोत्तरपछि तोकिएको शिक्षण अस्पतालमा एक वर्ष हेल्थकेयर सिस्टमभित्र राखेर तालिम दिई स्वास्थ्य संस्थामा काम गर्ने अनुमति दिनु नै हालका लागि श्रेयष्कर देखिन्छ । तर माइक्रोबायोलोजी लगायत अन्य विज्ञान विषयका स्नातकोत्तरको समस्याको दिगो हलचाहिँ देशमा उन्नत प्राज्ञिक संस्कारको विकास नै हो । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत विज्ञानका कुनै पनि विषयका स्नातकोत्तरलाई बिनारोकटोक विषयसम्बद्ध जुनसुकै निकायमा विज्ञान शिक्षण र इथिक्सभित्र रहेर शोध अनुसन्धान वा विज्ञानकर्म गर्न मिल्ने जागिरको व्यवस्था नीतिगत रूपमा गर्न सकियो भने देशको विज्ञान तथा अनुसन्धान क्षेत्रमा गुणस्तरीय विकास हुन्छ ।लेखक अमेरिकाको मियामी विश्वविद्यालयमा माइक्रोबायोलोजी अन्तर्गतको एउटा विषयमा विद्यावारिधि गर्दै छन् ।

Page 10
समाचार

‘फ्लोरा अफ नेपाल’ २० वर्षमा एउटा अंक

वनस्पतिहरुको ‘संविधान’ मानिने पुस्तक प्रकाशन ढिलाइ हुनुमा सरोकारवाला संस्थाहरुले एकअर्कालाई दोष दिने गरेका छन् ।
- गोविन्द पोखरेल

काठमाडौं - उन्युँ र फूल फुल्ने/नफुल्ने वनस्पतिहरूको विवरण ‘फ्लोरा अफ नेपाल’ १० वर्षमा १० वटा प्रकाशन गर्ने समझदारीअनुरूप काम सुरु गरिए पनि २० वर्षमा एक अंक मात्र छापिएको छ । अन्य अंक कहिले प्रकाशन हुने, टुंगो पनि छैन ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), टोकियो विश्वविद्यालय, बेलायतको प्राकृतिक विज्ञान संग्रहालय र रोयल बोटानिकल गार्डेन इडिनवर्गबीच सन् १९९९ मा १० वर्षभित्रमा फ्लोरा अफ नेपाल प्रकाशन गर्ने समझदारी भएको थियो । सन् २०११ मा अंक ३ मात्रै प्रकाशित भएको छ । बोटबिरुवाहरूको विवरण समावेश गरेर तयार गरिने यस्तो पुस्तकलाई वनस्पतिहरूको ‘इन्साइक्लोपोडिया’ अथवा वनस्पतिहरूको ‘संविधान’ का रूपमा व्याख्या गर्ने गरिन्छ । अन्य देशले पनि आफ्ना वनस्पतिको विवरण संग्रह गरेर किताब निकालेका छन् । नेपालले भने यस्तो किताब प्रकाशन गरेको छैन । फ्लोरा अफ नेपालले जैविक विविधता संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने वनस्पतिविद् प्रमोदकुमार झा बताउँछन् । प्रकाशन ढिलाइका विषयमा संस्थाहरू अर्कोलाई औंल्याउँदै पन्छिने गरेका छन् । वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राईले समझदारीपत्रमा हस्ताक्षार भएको १० वर्षभित्र फ्लोरा अफ नेपाल तयार हुनुपर्ने भए पनि मुख्य जिम्मेवार नास्टले समन्वय नगर्दा ढिलाइ भएको दाबी गरे । प्रकाशनमा विभागले प्राविधिक सहयोग गरिरहेको उनले जानकारी दिए ।
नास्टले वनस्पति विभाग, त्रिवि केन्द्रीय वनस्पति विज्ञान क्याम्पस र गोदावरीस्थित राष्ट्रिय हरबेरियम तथा वनस्पति प्रयोगशालासँग प्रकाशनका लागि सहकार्य गरेको जनाएको छ । वनस्पति विभागले हरबेरियम उपलब्ध गराउने र त्रिवि केन्द्रीय वनस्पति क्याम्पसले दक्ष जनशक्ति उपलब्ध गराउने समझदारी भएको थियो । फ्लोरा अफ नेपालका लागि भनेर राष्ट्रिय हरबेरियम तथा वनस्पति प्रयोगशलामा एक लाख ६० हजार वटा वनस्पतिको नमुना संकलन गरिसकिएको छ । अंक (भोलुम) ७ को जिम्मेवारी जापान, ४ को बेलायत र ३ र १० को जिम्मा नेपाललाई दिइएको छ । अंक ७ र ४ प्रकाशन गर्ने जिम्मेवारी पाएका जापान र युकेका संस्थाले प्रगति नेपाललाई नबुझाए पनि अनलाइनमा केही जानकारी तथा कामको विवरण राखिएका छन् । २०११ मा प्रकाशित अंक ३ मा फूल फुल्ने ६ सय प्रजातिका वनस्पतिको विवरण समावेश छ । अंक १० मा मोनोकोट्सलाई राखिएको छ, जसमा दुइटा भाग रहेको लेखन समूहका सम्पादक केशवराज भण्डारीले जानकारी दिए । उनका अनुसार एउटा भागमा मोनोकट र अन्य परिवारका वनस्पतिलाई समावेश गरिएको छ र अर्को भागमा सुनाखरी परिवारका वनस्पतिलाई समावेश गरिएको छ । भोलुम १० को काम चाँडै सुरु हुने उनले जानकारी दिए । यसमा ५ सय देखि ६ सय प्रजातिका वनस्पति रहनेछन् । नेपालका वनस्पति प्रकाशनमा भएको ढिलाइबारे आफू गम्भीर रहेको नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठले बताए । ‘म नास्ट आएको ६ महिना मात्र भयो । फ्लोरा अफ नेपाल चाँडै प्रकाशन गर्नुपर्छ भनेर नयाँ कार्ययोजना बनाउन लागेका छौँ,’ उनले भने । उनले सन् २०२२ सम्म फ्लोरा अफ नेपालका ४ वटा अंक प्रकाशन गरिसक्ने तयारी भइरहेको जानकारी दिए ।
नेपालले भने सन् १९९२ मा भएको अन्तर्राष्ट्रिय जैविक विविधता सन्धिमा सन् २०२० भित्र जैविक विविधताअन्तर्गत वनस्पतिको विवरण तयार गरिसक्ने प्रतिबद्धता जनाएको थियो । सरकारको ‘राष्ट्रिय जैविक विविधता रणनीति एवं कार्ययोजना २०१४–०२०’ मा पनि २०२० सम्म वनस्पतिको विवरण प्रकाशन गर्ने उल्लेख छ ।
फ्लोरा अफ नेपालसम्बन्धी कार्यशाला गोष्ठी २००० अक्टोबर २५ मा गरिएको थियो । गोष्ठीले वनस्पति विभागलाई ‘फ्लोरा अफ नेपाल’ तयारी र त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागलाई मानव संसाधन विकास र तथ्यांकधार व्यवस्थापनको जिम्मेवारी दिएको थियो । नास्टले परियोजना कार्यान्वयनमा समन्वय र सहजकर्ताका साथै अन्तर्राष्ट्रिय सहभागिता तथा प्राविधिक एवं आर्थिक सहयोग जुटाउन र परिचालन
गर्न प्रमुख भूमिका निर्वाह गर्ने भनिएको थियो ।
सम्पादकहरूको मनोनयन, फ्लोराको तयारी र प्रकाशनसम्बन्धी सम्पूर्ण नीतिगत तथा प्राविधिक विषय परामर्श लिन फ्लोरा अफ नेपाल राष्ट्रिय कार्यालय नास्टमा हुने उल्लेख छ । यसका लागि सबै किसिमका वानस्पतिक सर्वेक्षण, बिरुवा संकलन तथा हर्बेरियम संग्रहको काम भने भइसकेको छ ।

Page 11
विदेश

अमेजनको डढेलो निभाउन सघाउने

जी–७ सम्मेलन
- कान्तिपुर संवाददाता
ब्राजिलको अमेजन वनक्षेत्रमा फैलिएको डढेलो नियन्त्रण माग गर्दै सोमबार बेल्जियमको राजधानी ब्रसेल्समा प्रदर्शन गर्दै परम्परागत पोसाकमा सजिएका युवती ।तस्बिर : रोयटर्स

पेरिस (एजेन्सीहरू)– सात ठूला औद्योगिक राष्ट्रहरूको समूह जी–७ सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय नेताहरू अमेजन वनक्षेत्रमा लागेका डढेलो नियन्त्रण प्रयास गर्न सहयोग गर्ने भएका छन् । जी–७ सम्मेलनमा बोल्दै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले डढेलो नियन्त्रणका लागि ‘प्राविधिक र आर्थिक सहयोग’ गर्ने निर्णय भएको जनाएका हुन् । उनका अनुसार जी–७ समूहले तत्कालका लागि २ करोड २० लाख डलर सहयोग गर्ने सहमति भएको हो । यद्यपि, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले ‘आफ्नो देशका सार्वभौमिकताको सम्मान’ हुनुपर्ने बताएका छन् ।
सम्मेलन फ्रान्सको तटीय सहर बियारिजमा शनिबार सुरु सम्मेलन सोमबार सकिएको हो । समूहमा क्यानडा, जर्मनी, अमेरिका, बेलायत, इटाली, जापान र फ्रान्स सदस्य छन् । डढेलो अमेजन वनक्षेत्रमा फैलिएको डढेलो नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोमाथि दबाब दिएलगत्तै जी–७ नेताहरूले सहयोग गर्ने सहमति गरेका हुन् ।
सम्मेलनमा सहभागी बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘अमेजनको जंगल जोगाउन एक करोड पाउन्ड उपलब्ध गराउने’ प्रतिबद्धता व्यक्त गरेका छन् । ‘प्राविधिक स्रोतसाधन र आर्थिक सहयोग उपलब्ध गराउनका लागि हाम्रो टोलीले अमेजन क्षेत्रका देशहरूसँग समन्वय गरिरहेको छ,’ जोन्सनले भने । यसअघि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या ‘मानिसले चर्चा गरेजस्तो भयावह नरहेको’ दाबी गरेका थिए । अमेजन वनक्षेत्रमा फैलिएको डढेलोबारे विश्वव्यापी रूपमा चासो व्यक्त गरिएपछि बोल्सोनारोले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेजस्तो भयावह अवस्था नरहेको दाबी गरेका हुन् । ‘हाम्रा एकाइहरूले अमेजन वनक्षेत्रमा फैलिएको डढेलो नियन्त्रण गर्न काम सुरु गरिसकेका छन्,’ पत्रकारसँगको कुराकानीमा उनले भने ।
उनले गतवर्षका तुलनामा ब्राजिलमा यस वर्ष डढेलोका घटनामा कमी आएको बताए । यद्यपि ब्राजिलको नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चले ब्राजिलमा जनवरीदेखि अगस्टबीच डढेलोका घटना ८२ प्रतिशतले वृद्धि भएको दाबी गरेको छ ।

खटाइयो सेना
अमेजन वनक्षेत्रमा लागेका आगो निभाउन प्रयास नगरेको अन्तर्राष्ट्रिय आलोचनापछि ब्राजिलका राष्ट्रपति बोल्सोनारोले सशस्त्र सुरक्षा परिचान गरेका थिए । हाल उक्त क्षेत्रमा ४४ हजार सुरक्षाकर्मी खटाइएको बीबीसीले जनाएको छ । बोल्सोनारूले देशका संरक्षित प्राकृतिक क्षेत्र, आदिवासी बसोबास गर्ने भूभाग र सीमावर्ती क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा लिन सेना खटाउन आदेश दिएका हुन् ।
युरोपेली नेताहरूले ब्राजिलमाथि तीव्र दबाब दिएपछि अमेजन क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणको पहल गर्न बोल्सोनारू बाध्य भएका जनाइएको छ । उनले जंगलमा फैलिएको डढेलोलाई कारण बनाई अन्य देशविरुद्ध दबाब सिर्जना गर्नु उचित नहुने बताए । यसअघि फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों तथा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेजनमा फैलिएको डढेलो ‘अन्तर्राष्ट्रिय संकट’ भएकाले सबै मिलेर नियन्त्रण गर्नुपर्ने बताएका थिए । उनले उक्त विषय ठूला अर्थतन्त्रहरूको समूह ‘जी–७’ सम्मेलनमा प्राथमिकता साथ छलफल गरिनुपर्ने बताएपछि बोल्सोनारू आक्रामक भएका हुन् । जर्मन चान्सलर एंगेला मर्केलले अमेजनको डढेलो ‘गम्भीर आपताल’ भएको बताइन् ।
ब्राजिलले अमेजनमा फैलिएको डढेलो निभाउने प्रयास नगरे फ्रान्स र आयरल्यान्डले दक्षिण अमेरिकी देशहरूसँगको व्यापार सम्झौता नवीकरण नगर्ने चेतावनी दिएपछि बोल्सोनारूपछि हटेका हुन् ।
वनक्षेत्रमा ढडेलो फैलिनुमा किसान तथा गोठालाहरूलाई मुख्य जिम्मेवार ठानिएको छ । वन मासेर खेतीयोग्य जमिन बताउनका लागि उनीहरूले जानाजान लगाएका हुन सक्ने आशंकासमेत गरिएको छ । विभिन्न वातावरण सम्बद्ध संस्थाहरूले अमेजन क्षेत्रलाई कृषि र खानीका लागि प्रयोग गर्न दिने बोल्सोनारूको नीतिका कारण पछिल्लो संकट उत्पन्न भएको बताउने गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डढेलो हाल २ हजार ५ सयभन्दा बढी स्थानमा सक्रिय छ । विश्वकै ठूलो ‘रेन फरेस्ट’ अमेजनमा संग्रहित हुने कार्बनले विश्वमा हुने तापमान वृद्धि सुस्त बनाइदिन्छ । अमेजनमा ३० लाख प्रजातिका वनस्पति तथा वन्यजन्तु छन् । विश्वको २० प्रतिशत अक्सिजन अमेजनले उत्पादन गर्ने भएकाले यसलाई ‘विश्वको फोक्सो’ पनि भनिन्छ । यहाँ करिब १० लाख आदिवासी बसोबास गर्दछन् ।

 

विदेश

कश्मीरमा गोर्खा सैनिक मारिए

- कान्तिपुर संवाददाता

दार्जिलिङ – जम्मु–कश्मीरको रजौरी जिल्लाअन्तर्गत नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली प्रहारमा गोर्खा राइफल्सका नायक राजीव थापाको ज्यान गएको छ । सेनाका अनुसार थापाको टाउकोमा गोली लागेको हो । शनिबार विमानमार्फत् बाघडुग्रा ल्याई थापाको अन्तिम संस्कार गरिएको छ । अंग्रेजले सहिद मेजर दुर्गा मल्ललाई फाँसी दिएको अगस्ट २५ लाई भारतीय नेपालीभाषीले बलिदान दिवसका रूपमा मनाउने गर्छन् । तर यसपालि अगस्ट २५ भने दार्जिलिङ र वरिपरिका नेपाली समुदायका लागि थप पीडादायी बन्यो । यसअघि गत डिसेम्बरमा पनि सोही ठाउँमा दार्जिलिङ लोअर लामाहट्टा सिग्रीताम बस्ती निवासी गोर्खा राइफल्सका सैनिक जीवन गुरुङको ज्यान गएको थियो ।

विदेश

बोर्नियो इन्डोनेसियाको राजधानी

- एजेन्सी

जकार्ता – इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले देशको राजधानी जकार्ताबाट बोर्नियो द्वीपमा सारिने निर्णय भएको जनाएका छन् । विडोडोले अगस्ट १६ मा बोर्नियो द्वीपमा राजधानी सार्ने प्रस्ताव गरेका थिए । उनले इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राजधानी सार्ने प्रस्ताव गरेका थिए । सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै विडोडोले हालको राजधानी जकार्तामा जनघनत्वसको वृद्धिसँगै अव्यवस्था तथा फोहोर बढेकाले राजधानी सार्नुको विकल्प नभएको बताएका थिए ।
विडोडोका अनुसार मुलुकका लागि राजधानी सहर राष्ट्रिय पहिचानको प्रतीक मात्र नभई मुलुककै प्रगतिको सूचक हुने भएकाले जार्काताको विल्कप खाजेको बताउने गरेका छन् । यसअघि उनले ‘बोर्नियोमा राजधानी सार्ने निर्णयले समानता र आर्थिक न्याय प्रदर्शित हुने बताएका थिए । राष्ट्रपति विडोडोले गत अप्रिलमा जकार्ताबाट जाभा द्वीपमा स्थानान्तरण गर्ने गरी एक योजनालाई स्वीकृत गरेका थिए । उनले बोर्नियो द्वीपको कुन सहरमा राजधानी रहने भन्नेबारे निर्णय नभइसकेको बताए ।
विकास योजना मन्त्री बामबाङ ब्रोजोनेगोरोले नयाा राजधानीका लागि करिब ३० हजारदेखि ४० हजार हेक्टर जमिन आवश्यक पर्ने बताए । एसियाकै ठूलो सहर मानिने जाकार्ता पछिल्ला वर्षमा चौतर्फी अव्यवस्थाबाट गुज्रिरहेको छ । बाढीले हरेक वर्ष जलमग्न हुने जकार्ताको भूमिगत पानी अत्यन्त प्रदूषित छ भने नदी प्रणाली फोहोरको डंगुरमा परिणत भएको छ । जकार्ताको अव्यवस्थाका कारण उत्पन्न समस्याले अर्थतन्त्रमा करिब ६ अर्ब अमेरिकी डलर नोक्सान भइरहेको जनाइएको छ ।

विदेश

चीन–अस्ट्रेलिया सम्बन्ध बिग्रँदै

- नारायण खड्का

अस्ट्रेलिया - अस्ट्रेलियाले न्यु साउथ वेल्स राज्यका विभिन्न सरकारी विद्यालयमा चीनद्वारा सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । न्यु साउथ वेल्स सरकारले चिनियाँ सरकारको आर्थिक सहयोगमा सञ्चालित शैक्षिक कार्यक्रम बन्द गर्ने निर्णय गरेसँगै चीनको विदेश मन्त्रालयले यो निर्णय अनुचित र अनादरपूर्ण भएको जनाएको छ ।
न्यु साउथ वेल्स सरकारले यस राज्यमा रहेका १३ सरकारी विद्यालयमा सञ्चालन भइरहेको उक्त शैक्षिक तथा सांस्कृतिक कार्यक्रम राजनीतिक प्रभाव बढेको भन्दै बन्द गरेको थियो । चीनको कन्फुसियस इन्स्टिच्युटद्वारा सञ्चालन गरिएको कार्यक्रम न्यु साउथ वेल्सको १३ सरकारी विद्यालयमा सञ्चालन भइरहेको थियो । यो कार्यक्रम विशेष गरेर सिड्नी र मध्य उत्तर क्षेत्रमा रहेक विद्यालयहरूमा सञ्चालनमा रहेका थिए । न्यु साउथ वेल्स सरकारले चीनको सम्भाव्य प्रचारको आशंकामा यस कार्यक्रमको समीक्षाका लागि आदेश दिएको थियो । समीक्षाको नतिजामा कुनै राजनीतिक प्रभावको असर नभएको नतिजासहितको रिपोर्ट बुझाइएको भए पनि संस्थाले अनुचित विदेशी प्रभाव पार्न सक्ने बताएको थियो ।
यहाँका स्थानीय सञ्चारमाध्यमका अनुसार विश्वमा न्यु साउथ वेल्स सरकारले मात्र आफ्ना विद्यालयहरूमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता गेङ सुङले न्यु साउथ वेल्स सरकारले गरेको यो निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनले यो कार्य अनुचित हुनुका साथै अनादरपूर्ण भएको समेत टिप्पणी गरेका छन् । उनले यो निर्णय चीन सरकारसँग सरसल्लाह नगरी गरिएको समेत बताएका छन् । ‘यो न आदरपूर्ण छ न यो स्थानीय विद्यार्थीहरूप्रति जायज नै छ,’ उनले भने, ‘यो चीन र अस्ट्रेलियाबीचको सांस्कृतिक आदान प्रदानको संस्कृतिलाई ध्यान दिएर गरिएको छैन ।’ उनले अस्ट्रेलियाको न्यु साउथ वेल्स सरकारलाई सामान्य एकआपसको द्विदेशीय सम्बन्धका कार्यक्रमहरूलाई राजनीतीकरण नगर्न समेत आग्रह गरेका छन् । यहाँका विद्यालयहरूमा सञ्चालित यस कार्यक्रममार्फत चीनको कम्युनिस्ट पार्टीको धारणाहरू यहाँका कक्षाकोठामार्फत फैलाउन खोजिएको आलोचकहरूले आरोप लगाएका छन् । यहाँका दर्जन बढी विद्यालयमा सञ्चालित यस कार्यक्रम बेइजिङमा रहेको कन्फुसियस इन्स्टिच्युटले चलाइरहेको सञ्चारमाध्यहरूले जनाएका छन् । न्यु साउथ वेल्सको शैक्षिक विभागले विज्ञप्तिमार्फत अहिले सञ्चालन भइरहेको कार्यक्रम हटाइएको जनाउँदै यसको बदलामा अन्य चाइनिज भाषा कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ ।
समाचारहरूका अनुसार चीनले यस कार्यक्रमका लागि अस्ट्रेलियाली २ लाख २० हजार डलर र प्रत्येक विद्यालयका लागि १० हजार डलर कक्षाकोठाका लागि वितरण गरेको थियो । यसका साथै यस कार्यक्रममार्फत शैक्षिक सामग्रीका चिनियाँ सरकारद्वारा स्वीकृत गरिएका एक शिक्षकलाई तलबसमेत दिने गरेको थियो । न्यु साउथ वेल्स सरकारले स्थापना गरेको समीक्षामा प्रदान गरिएको सुविधाहरू असामान्य भएको जनाउँदै यो सुविधाहरू अन्य देशहरूका स्वयंसेवक शिक्षकहरूलाई प्रदान नगरिएको बताइएको छ ।

Page 12
कला र शैली

लन्डनमा “मिनी नेपाल”

- नवीन पोखरेल
बेलायतको राजधानी लन्डनस्थित केम्पटन पार्क रेसकोर्स मैदानमा आयोजित एघारौं नेपाली मेलामा झाँकी प्रस्तुत गरिँदै । तस्बिर : नवीन/कान्तिपुर

लन्डन - लन्डनस्थित केम्पटन पार्क रेसकोर्स मैदान आइतबार ‘मिनी नेपाल’ बन्यो । नेपाल बिर्साउने गरी आयोजित नेपाली मेलामा हजारौं सहभागी भए । भारत, चीन, मरिसस र ईयू गरी १२ जना कूटनीतिज्ञ पनि मेलाको प्रत्यक्ष साक्षी बने ।
बेलायतस्थित २७ विभिन्न सामाजिक, जातीय तथा धार्मिक संघसंस्थाले उजागर गरेका मौलिक झाँकीले लन्डन मिनी नेपालमा परिणत भएको थियो । नेपालमै दुर्लभ बन्दै गएको सांस्कृतिक झाँकी देखियो लन्डनमा । सोरठी, घाटु, बालन, लाखे, कृष्ण चरित्र नाच, धान नाच, चुडका, कौडा, रत्यौलीदेखि तीज र टहोंटे पर्व झल्काउने मौलिक प्रस्तुतिले रेस कोर्सको रौनक बेग्लै बन्यो ।
तमुधिं यूकेले ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा ११ औं मेला गरेको हो । ‘लन्डन नेपालमय देख्दा साँच्चिकै खुसी लाग्यो,’ मेलामा आइपुगेकी बेल्जियमस्थित महिला अभियन्ता एवं व्यवसायी अनुजा प्रधानले प्रतिक्रिया दिइन्, ‘विदेशमा नेपाली कला संस्कृति र पहिचान जोगाउने यो कार्य एकदम सराहनीय छ ।’
नेपाली कला संस्कृति, परम्परा र भेषभूषा झल्काउने नेपाली मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामग्रीका स्टल पनि राखिएका थिए । सो अवसरमा नेपाली मौलिक कला संस्कृति झल्कने नृत्य प्रतिस्पर्धा भयो भने युवाहरूले आफ्नै ढंगले गीत संगीत प्रस्तुत गरे । मेला हेर्न आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मेला सबै जाति, भाषी, संस्कृति र धर्म मान्ने नेपालीहरूको साझा कार्यक्रम रहेछ भन्दै आयोजकको प्रशंसा गरे । ‘मानिस जहाँ जाओस्, नागरिकता परिवर्तन हुन सक्छ तर उसको संस्कृति, आदिम भेषभूषा र परम्परागत सोच चिन्तन परिवर्तन हुन सक्दैन,’ मुख्यमन्त्रीले भने ।
नेपाल संघीय शासन प्रणालीको पहिलो चरणमा रहेको बताउँदै उनले बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय र बहुलताभित्र कसरी एकता कायम गर्न सकिन्छ भनेर देशमा संघीय शासन प्रणाली अवलम्बन गरिएको जनाए । उनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक सहअस्तित्व कायम गर्न संघीय शासन प्रणाली अपनाइएकाले विकासको बाधक अब केही नभएको दाबी गरे । नेपालमा समृद्धि र विकासको युग प्रारम्भ भएको बताउँदै उनले अब सबै एकजुट हुन जरुरी रहेकोमा पनि जोड दिए ।
‘अबको २५ वर्षभित्र नेपालमा कोही गरिब हुने छैन,’ उनले भने, ‘सबै साक्षर हुने छन् । उपचारको अभाव हुने छैन । नेपाललाई मध्यम स्तरको विकसित राष्ट्रको दाँजोमा पुर्‍याउने योजनामा हामी छौं ।’ दुई वर्षभित्र गण्डकी प्रदेशका घरघरमा धारा, इलेक्ट्रिक ओभन, गाउँगाउँमा वाइफाइ र डिजिटल एवं पहिलो साक्षर प्रदेशका रूपमा स्थापित गर्ने पञ्चवर्षीय योजना पनि उनले सुनाए ।कार्यबहाक राजदूत शरदराज आरणले दूतावासको सहकार्यमा हुँदै आएको मेलाले नेपाली कला संस्कृति र परम्परा विदेशमा पनि जीवन्त राख्न सघाएको धारणा राखे ।तमुधिं यूके अध्यक्ष नन्दजङ गुरुङले नेपाली मेलाले नेपाली कला, संस्कृति, सम्पदा, भेषभूषा संरक्षण र सम्वर्धन गर्दै भावी सन्ततिमा हस्तान्तरण गर्न बल पुग्ने विश्वास व्यक्त गरे । ‘मेलाले सबै नेपालीको पहिचान प्रतिविम्बित गरेको छ,’ उनले भने, ‘भाषा र संस्कृति हाम्रो पहिचान भएकाले यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’
विभिन्न समुदायबीच अन्तरघुलन र विदेशी कूटनीतिज्ञहरूको उपस्थितिले नेपालबारे अन्तर्राट्रिय प्रचारप्रसार एवं पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वाससमेत उनले व्यक्त गरे ।मेलामा उत्कृष्ट झाँकी र नृत्य प्रस्तुत गर्ने सिक्लेस पार्चे समाज यूकेलाई ११ सय पाउन्डको एम्बासडर कप, ट्रफी, मेडल र प्रमाणपत्र दिइयो । घान्द्रुक समाज यूके रनरअप भएर ५ सय पाउन्ड जित्यो । त्यसैगरी, नृत्यमा उत्कृष्ट सिक्लेस पार्चे समाज यूकेले ५ सय पाउन्ड प्राप्त गर्‍यो ।

कला र शैली

गीत चले, जीवन चलेन

- दुर्गालाल केसी
संगीत रोयल्टी नपाउँदाको दुःख पोख्दै संगीतकार महेश खड्का ।

दाङ - संगीतकार महेश खड्काले चर्चित गीतहरूमा संगीत भरेका छन् । उनका गीत निकै पटक डाउनलोड भए, सेयर भए, सबै क्षेत्रमा अनधिकृत प्रयोग भए । त्यसबापत् संगीतकार खड्काले एक पैसा पाएनन् । बरु अरूले नै कमाए । यसले उनको साह्रै चित्त दुखेको रहेछ । ‘हामीले सिर्जना मात्रै गर्‍यौं । हाम्रा सिर्जनाले बजार पाए तर हामीले चर्चाबाहेक अरू केही पाएनौं । गीत चले तर हाम्रो जीवन चलेन,’ उनले भने, ‘हाम्रो अवस्थामा केही सुधार आएन । बिरामी हुँदा उपचार गर्न सक्ने अवस्था छैन ।’
गीत/संगीतमा लागेर आफूजस्तो गरिब हुन कोही सर्जकले नचाहेको खड्काले बताए । ‘मेरा बाआमा संगीतमा लागेर गरिब भयो भन्नुहुन्छ,’ उनले भने, ‘मजस्तो गरिब कोही हुन चाहँदैन ।’ सर्जकले आफ्नो सिर्जनामा अधिकार स्थापित गर्न नसकेकामा उनले साह्रै चित्त दुखाए । संगीत रोयल्टी संकलन समाजका अध्यक्षसमेत रहेका खड्काले बौद्धिक सम्पत्तिको संरक्षण नभएकोमा खिन्नता व्यक्त गर्दै भने, ‘हामी सिर्जनामा मात्रै ध्यान दिन्छौं । अधिकार खोज्न लाग्दैनौं । मेरा एक हजार ५ सय बढी सिर्जना छन् । ती सबै सार्वजनिक रूपमा निःशुल्क प्रयोग भएका छन् । स्रष्टा समृद्ध हुन बौद्धिक सम्पत्तिको संरक्षण हुनुपर्छ तर त्यस्तो हुन सकेन ।’
जीवनलाई आनन्द दिने हरेक चिजमा मानिस पैसा तिर्न तयार रहेको तर धेरै नै आनन्द दिने संगीतमा पैसा तिर्न तयार नरहेको खड्काले बताए । ‘हामी आफूलाई रमाइलो लाग्ने हरेक चिजमा पैसा तिर्न तयार छौं तर जीवनलाई साह्रै आनन्दित बनाउने, मनोरञ्जन दिने गीत संगीतका लागि केही रकम छुट्ट्याउन तयार छैनौं,’ उनले भने, ‘झलकमान गन्धर्व बित्दा दाउरा किन्ने पैसा नहुने जस्तो विडम्बना फेरि नआओस् ।’ प्रतिलिपि अधिकार तथा संगीत रोयल्टी व्यवस्थापनसम्बन्धी तुलसीपुरमा आयोजित अन्तरक्रियामा खड्काले विभिन्न ४० क्षेत्रमा संगीतको रोयल्टी आउने सम्भावना देखेको बताए । ‘यातायात, पार्टी प्यालेस, रेडियो, टीभी, मेला महोत्सवजस्ता मनोरञ्जनका थुप्रै क्षेत्र छन् । यी सबैबाट रोयल्टी उठाउन सकिन्छ,’ उनले भने, ‘तर, सर्जकसँग आफ्नो भन्नु सृजनाबाहेक अरु केही छैन । हामी लड्न भिड्न सक्दैनौं । कसरी उठ्छ रोयल्टी ?’ प्रस्तोता समाजका सदस्य तथा गायक बैकुण्ठ महतले पनि गीत–संगीतको रोयल्टी नपाउँदाको पीडा पोखे । ‘हाम्रा गीत सबैतिर निःशुल्क बजिरहेका छन् । व्यक्तिगत रूपमा बज्ने गीतमा हामी रोयल्टी माग्दैनौं तर व्यावसायिक रूपमा बज्दा तिर्नुपर्छ,’ उनले भने, ‘सबै क्षेत्रबाट कसरी रोयल्टीको व्यवस्थापन गर्ने भन्ने चुनौती छ । रोयल्टी नउठी कलाकारको आर्थिक स्थितिमा सुधार आउन सक्दैन ।’
नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार प्रकाश आचार्यले प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार गीत–संगीत बौद्धिक सम्पत्ति भएको बताए । रोयल्टी नतिरी सार्वजनिक रूपमा गीत–संगीत प्रयोग गर्दा ऐनको उल्लंघन हुने उल्लेख गर्दै आचार्यले यसलाई फौजदारी अपराध मानी कानुनी कारबाही हुने बताए ।

 

कला र शैली

तीजको रमझममा क्यान्सरपीडित

- सुरेशराज न्यौपाने

नयाँदिल्ली - रोहिणी सेक्टर ५, सोमबजार । क्यान्सर उपचारका लागि दिल्ली आउने अधिकांश नेपालीहरूको घर । यहाँका अधिकांश फ्ल्याटहरूमा नेपाली बिरामी र तिनका आफन्त बस्ने गर्छन् । यकिन तथ्यांक नभए पनि सोमबजारमा करिब पाँच सय नेपाली बिरामी र तिनका आफन्त कहिल्यै टुट्दैन । दिनभरि केही दूरीमा रहेको राजीव गान्धी क्यान्सर अस्पतालमा औषधिमूलोका लागि दौडधूप गर्ने यी नेपालीहरू साँझपख भने सोमबजारकै एकजना नेपालीको टुर्स एन्ड ट्राभल्समा भेला भई आफ्ना दुःखसुख साट्ने गर्छन् ।
तर आइतबार साझँको दृश्य भने फरक थियो । उनीहरू केही दूरीमा रहेको पार्कमा भेला भए । उनीहरू आफ्ना रोग र त्यसले दिएको पीडा साटिरहेका थिएनन् । उनीहरू त छमछम नाचिरहेका थिए । सन्दर्भ थियो, नेपाली महिलाको चाड हरितालिका तीजको कार्यक्रम । दिल्लीका नेपालीहरूले विभिन्न ठाउँमा बर्सेनि तीजको कार्यक्रम गर्ने गरे पनि सोमबजारमा भने यस्तो कार्यक्रम पहिलो पटक आयोजना गरिएको थियो । ‘सबै नेपालीहरू दुःख पीडामा बसिरहेका छन् । तर, त्यसरी सधैं बसेर त भएन त्यही भएर केही घण्टा भए पनि नेपाली दिदीबहिनीको मुहारमा खुसी छाओस् भन्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो,’ आयोजक विष्णु शाहीले बताए । हुन पनि कार्यक्रममा उपस्थित सबैको अनुहारमा बेग्लै खुसी देखिन्थ्यो । र, जब जब तीजको लहर आयो बरि लै... लगायतका गीतहरू बज्नासाथ नेपाली दिदीबहिनीहरू आफूलाई रोक्न सक्दैनथे र नाच्न सुरु गरिहाल्थे । नाँच्न आनाकानी गर्नेलाई पनि जबर्जस्ती नचाउँथे । अरू नाचेको देखेर भर्खर अस्पतालबाट आएका बिरामीहरूसमेत कम्मर हल्लाउन सुरु गर्थे । कतिपय त मुखमा मास्क नै लगाएर नाचे । ढाडको क्यान्सरका लागि विगत तीन महिनादेखि सोमबजारमा बस्दै आएकी धनगढीकी विद्या देउवा खडगा दिउँसो मात्र अस्पतालबाट डिस्चार्ज भएर आएकी थिइन् । केमोका लागि उनी दुई दिन अस्पतालमा भर्ना थिइन् । तर, शरीरमा कमजोरी त्यत्तिकै थियो । तर, उनले तीजको धुनमा आफूलाई थाम्न सकिनन् । मुखमा मास्क लगाएरै भए पनि छमी छमी नाचिन् । जब कि उनका श्रीमान् भने छेउमा बसेर चिन्ता व्यक्त गर्दै थिए– आजै केमो दिएको, ननाचे हुन्थ्यो भनेर । तर, विद्याको मनले के मान्थ्यो । छिनछिनमा उनी नाच्न तम्सिहाल्थिन् । जब कि उनको स्वास्थ्यलाई लिएर अरू महिलाहरूले पनि चिन्ता व्यक्त गर्दै थिए । तर, उनले कसैको कुरा सुनिनन् । लगातार नाचिरहिन् । आफ्नो र दिदीबहिनीहरूको खुसीका लागि समेत आफूले रोगको पर्वाह नगरी नाचेको उनले बताइन् ।
‘दुःखमा परेर विदेशमा भएका बेलासमेत तीजको बेलामा नेपाली दाजुभाइ, दिदीबहिनी सबै भेला भएका बेला मैले आफूलाई रोक्नै सकिन् । उपचारको क्रममा भएको दुखाइ र पीडा सबै बिर्सिएँ । आफ्नो माइती र घरको याद आयो,’ विद्याले भनिन् । क्यान्सर रोग लागेको अवस्थामा मानिसक र शारीरिक दुवै हिसाबले तनाव हुने भएकाले पनि त्यसबाट मुक्त हुन आफू नाचेको बताइन् ।
आफ्नो श्रीमानको उपचारका लागि विगत तीन वर्षदेखि दिल्ली धाइरहेकी इल्या भट्टराई पनि के कम । त्यसो त उनलाई भित्रैदेखि नाच्ने मन थिएन । किनकि बुबा (मदनमणि दीक्षित) को ११ दिन मात्र भएको थियो । एक त काठमाडौंबाट आएका केही घण्टा मात्र भएको थियो । धेरैका लागि कार्यक्रम परदेशमा चाडपर्वको न्यास्रो मेट्ने माध्यमसमेत बन्यो । ‘हामी जहाँ भए पनि हाम्रो देशलाई पनि लिएर जाँदा रहेछौं । देशसँगै रीतिरिवाज र चाडपर्व पनि पुग्दो रहेछ । त्यसमाथि यहाँ त हामी सबै दुःखी छौं । यही दुःखका बीच सानो सुख खोज्ने प्रयास हो । त्यस हिसाबले पनि यसको बढी महत्त्व रहृयो,’ उनले भनिन् । फलोअपका लागि आएकी तारादेवी खतिवडा पनि नाच्न पछि हटिनन् । उनलाई साथ दिइन् सँगै आएकी दिदी शोभा चुँडालले ।
पुरुषहरू पनि के कम ? दुर्गेश थापाको हामी पनि नाच्नुपर्छ बीच बीचमा बोलको गीत बज्ना साथ जुरुक्कै उठिहाल्थे । र, सकिनसकी कम्मर हल्लाउँथे । तिनैमध्येका एक थिए– चितवन अरुणकान्त मैनाली । ‘नेपाली दिदीबहिनी, दाजुभाइलाई केही क्षण भए पनि मनोरञ्जन गराउन कार्यक्रम गरिएको हो,’ मैनालीले भने । आफ्नो भनाइ नसक्दै उनी फेरि नाच्न कस्सिए र साथ दिए अरू उपस्थित पुरुषले । र, फेरि बज्न थाल्यो...बीचबीचमा ।

कला र शैली

रेल्वे स्टेसनमा गीत गाएरै अवसर

- एजेन्सी

राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेका छन्, ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल ।’ सिर्जना कहाँ, कति बेला प्रस्फुटन हुन्छ, पत्तै हुँदैन । यति बेला सीप र क्षमताले आफैं बाटो बनाउँछ भन्ने सिद्ध गरिदिएकी छन्, भारतीय एक महिलाले । भारतीय रेल्वे स्टेसनमा गीत गाएर जीविकोपार्जन गर्दै आएकी रानु मण्डलको गायकीले यति बेला न्याय पाएको छ । सुरिलो स्वरकी धनी मण्डलले गाएको भिडियो फुटेज सामाजिक सञ्जालमा आएपछि उनी एकाएक भाइरल बनेकी थिइन् । सञ्जाल प्रयोगकर्ताले उनको गायकीलाई गायिका लता मंगेशकरसँग तुलना गरेपछि चर्चा दिन दुगुना, रात चौगुना बढ्दै गयो ।
यति बेला भारतीय संगीतकार, गायक हिमेश रेशमियाले मण्डलको गीत नै रेकर्ड गराएका छन् ।
आफ्नो नयाँ फिल्मका लागि रेशमियाले मण्डललाई पार्श्व गायनका लागि अवसर दिएका हुन् । त्यसअघि जब मण्डल टीभीमार्फत प्रसारण हुने सिङगिङ रियालिटी सो ‘सुपरस्टार सिंगर’ मा पाहुना बनेर पुगेकी थिइन् । जुन सोको निर्णायकमध्ये एक रेशमिया पनि छन् । मण्डलको गायकीबाट प्रभावित भई रेशमियाले आफ्नो फिल्मको गीतका लागि स्वर दिन आग्रह गरेका थिए । उक्त सोमा उपस्थित मण्डलको जीवन संघर्षले सबैलाई भावुक बनाएको थियो । कार्यक्रम सञ्चालिकाले रेल्वे स्टेसनमा गाउनुको कारणबारे सोधेपछि मण्डलले हाँस्दै भनेकी थिइन्, ‘रेल्वे स्टेसनमा किन गाउँथेँ भने मसँग बस्नका लागि घर छैन । गीत गाएरै आफ्नो पेट पालिरहेकी थिएँ । गीत सुनेर कोही खानेकुरा दिन्थे भने कोहीले पैसा ।’ कार्यक्रममा उनले जावेद अलीको अनुरोधमा ‘एक प्यारका नगमा...’ पनि गाएर सुनाएकी थिइन् ।रानु मण्डलले फिल्म ‘ह्याप्पी हार्डी एन्ड हिर’ का लागि ‘तेरी मेरी कहानी’ युगल गीत गाएकी हुन्, जसमा मण्डललाई हिमेशले नै पुरुष गायनमा साथ दिएका छन् ।

कला र शैली

बालविवाहविरुद्ध सडक नाटक

- कान्तिपुर संवाददाता

कालिकोटको सदरमुकाम मान्ममा सडक नाटकमा अभिनय गर्दै कलाकार । तस्बिर : तुलाराम पाण्डे/कान्तिपुर

कालिकोट – सानैमा विवाह भयो । न शिक्षा न रोजगार । बालविवाहले सानैमा गर्भवती भएर बच्चा जन्माउन नसकेर मृत्युको मुखमा पुगेकी किशोरीको कथा समेटेर शनिबार मान्म बजारमा जनजीवन किशोरी समूहका कलाकारले मान्म बजारमा प्रर्दशन गरेको सडक नाटक हेरेका स्थानीयका आँखा रसाए ।
१४ वर्षमा विवाह गरेर १६ वर्षमा बच्चा जन्माएकी खाडाचक्र २ की २७ वर्षीया जयकला विकले आँसु थाम्न सकिनन् । ‘मेरै बारेमा भनेजस्तो लाग्यो,’ उनले भनिन् ‘गाउँका धेरै दिदीबहिनीले भोगिरहेका कुरा नाटकमा देखाउँदा आँसु आइहाले ।’ उनका लगातार ५ छोरी जन्मिएपछि छैटौं सन्तानका रूपमा छोरा जन्मिए । पतिले अर्को छोरा चाहिन्छ भनेर अझै परिवार नियोजन गरेका छैनन् । उनको स्वास्थ्य निकै कमजोर छ ।
खाडाचक्र नगरपालिकाको समन्वयमा स्वास्थ्य रूपान्तरण परियोजनाको सहजीकरणमा गठित किशोरी समूह लामो समयदेखि क्रियाशील छ । १५ वर्षीया साविता पाण्डे र दीपक आचार्य बीचमा भएको बालविवाहले उनको पढाइ छुटेको, घरमा खाना पकाउन नजानेर घरपरिवारले गालीगलौच गर्दै हेला गरेको, सानैमा गर्भवती बनेर बच्चा जन्माउन नसकेर बच्चा खसेकोलगायत समस्या नाटकीय रूपमा देखाइएको थियो । अत्यधिक रक्तश्राव भएर मृत्युको मुखमा पुगेको घटनाले बालविवाह गर्न बाध्य किशोरकिशोरीको चित्र नाटकमा उतार्दा आँसु रोक्न नसकिएको जिल्ला समन्वय समितिका सदस्य ऐना शाहीले सुनाइन् । ‘सन्देशमूलक नाटकले समाजमा जरा गाडेर बसेको बालविवाहको कुसंस्कार कम गर्न सहयोग पुर्‍याउँछ,’ उनले भनिन् । १८ वर्षमुनिका किशोर किशोरीले अभिनय गरेको सडक नाटकमा सासूको भूमिकामा रहेकी करुणा आचार्यले गाउँमा आमाले गर्ने व्यवहार र छोरी बुहारीले भोग्ने समस्याबारे सचेतनाका लागि अभिनय गरेको सुनाइन् । नाटक हेर्न आएका सहभागी किशोर किशोरीले बालविवाह नगर्ने गराउनेलाई पनि खबरदारी गर्ने सामूहिक प्रतिबद्धता गरेको सहजकर्ता अविसरा देवकोटाले बताइन् ।
सडक नाटकले किशोरकिशारीले भोग्नुपरेको समस्याबारे दुरुस्तै देखाएको नागरिक अगुवा धनबहादुर बटालाले बताए । बालविवाहविरुद्ध समुदायमा कानुनी प्रावधानबारे अभिमुखीकरण गर्नुपर्ने र कारबाही गर्ने प्रहरी प्रशासन पनि निर्मततापूर्वक परिचालन गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ । ‘बालविवाहको असर विवाह गर्ने बालबालिकासहित घरपरिवार र समाज सबैमा परिरहेको छ,’ उनले भने, ‘विवाहबारी २० वर्ष पारि कार्यान्वयन गर्न जरुरी छ ।’

 

कला र शैली

प्रहृलाद र शर्मा सम्मानित

शैली संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं – सुन्दरप्रसाद शाह ‘दुःखी’ स्मृति पुरस्कार तथा सम्मानबाट दुई स्रष्टा सम्मानित भएका छन् । ‘अक्षर आराधना छन्दबद्ध कविता’ संग्रहका लागि खोटाङका कवि प्रहृलाद पोख्रेललाई २५ हजार रुपैयाँको सुन्दरप्रसाद शाह ‘दुःखी’ स्मृति पुरस्कार पुरस्कृत गरिएको हो । स्वर्गीय शाहको समकालीन वाङ्मय साधकलाई सम्मान गर्न यस वर्षदेखि सुरु गरिएको सुन्दरप्रसाद शाह ‘दुःखी’ स्मृति सम्मान २०७६ बाट समालोचक प्रा. गोपीकृष्ण शर्मा सम्मानित भएका छन् । शर्मालाई १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । काठमाडौंको ग्यालेक्सी स्कुलमा भएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकार मोदनाथ प्राश्रितलगायतको उपस्थिति थियो ।

कला र शैली

प्रहृलाद र शर्मा सम्मानित

शैली संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं – सुन्दरप्रसाद शाह ‘दुःखी’ स्मृति पुरस्कार तथा सम्मानबाट दुई स्रष्टा सम्मानित भएका छन् । ‘अक्षर आराधना छन्दबद्ध कविता’ संग्रहका लागि खोटाङका कवि प्रहृलाद पोख्रेललाई २५ हजार रुपैयाँको सुन्दरप्रसाद शाह ‘दुःखी’ स्मृति पुरस्कार पुरस्कृत गरिएको हो । स्वर्गीय शाहको समकालीन वाङ्मय साधकलाई सम्मान गर्न यस वर्षदेखि सुरु गरिएको सुन्दरप्रसाद शाह ‘दुःखी’ स्मृति सम्मान २०७६ बाट समालोचक प्रा. गोपीकृष्ण शर्मा सम्मानित भएका छन् । शर्मालाई १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । काठमाडौंको ग्यालेक्सी स्कुलमा भएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकार मोदनाथ प्राश्रितलगायतको उपस्थिति थियो ।

कला र शैली

पलेँटीमा लेकाली परिवार

शैली संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं – भदौ महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृखंला’ मा सांगीतिक समूह लेकाली परिवार प्रस्तुत हुने भएको छ । भदौ १३ देखि तीन दिनसम्म चल्ने पलेँटी प्रस्तुतिका लागि लेकाली परिवार कालिकास्थानस्थित नेपालयको ‘आर शाला’ मा रिहर्सलमा व्यस्त छ । उक्त सांगीतिक समूह विगत लामो समयदेखि निस्क्रियजस्तै थियो । पलेँटीमा भने समूहका तीन सदस्य गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ सांगीतिक तयारीमा जुटेका हुन् ।
५२ वर्षअघि स्थापित लेकाली परिवारले आफ्नो पहिलो प्रस्तुति २०२५ मा राजधानीको महेन्द्र पुलिस क्लबमा ‘छहराको गीत’ शीर्षकमा दिएको थियो । त्यसताका लेकाली परिवारका ‘लहरा पहरा...’, ‘ट्याम्के डाँडा...’, ‘ए है है...’, ‘काफल पाक्यो...’ जस्ता गीत चर्चित थिए । त्यसबेला उक्त समूहमा ‘राल्फा’ छोडेर आएका रसिक, हिरण्य भोजपुरेसहित उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, शशि भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीनकिशोरको संलग्नता थियो । लेकालीले पनि ‘राल्फा’ ले झैं आधुनिक, प्रयोगवादी र लोक आधारित गीतहरू सृजना गर्न थालेको थियो । गणेश रसिकको ‘रातोभाले...’ र हिरण्य भोजपुरे को ‘झाँक्री गीत’ लाई अहिले पनि मौलिकताको कसीमा उत्कृष्ट मानिन्छ । लेकाली परिवारलाई पलेँटीमा गायिका मीना निरौलाले पनि साथ दिने भएकी छन् । पलेँटीमा लेकालीलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिने छन् ।

कला र शैली

दिइयो लघुकथा सम्मान

शैली संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं – एघारौं लघुकथा दिवसको अवसरमा साहित्यकार सरूभक्त श्रेष्ठ र इन्दिरा प्रसाईं सम्मानित भएका छन् । लघुकथा समाजले श्रेष्ठलाई ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान’ र प्रसाईंलाई ‘धनमान लघुकथा पुरस्कार’ प्रदान गरेको हो । सम्मान एवं पुरस्कारमा जनही १० हजार १०१ रुपैयाँ र प्रमाणपत्र रहेको छ । संस्कृतिविद् एवं वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले पुरस्कार हस्तान्तरण गर्दै पछिल्लो समय लघुकथाको क्रेज बदढै गइरहेको दाबी गरे । कार्यक्रममा समालोचक लक्ष्मण गौतमले श्रेष्ठका लघुकथा मस्तिष्कले र प्रसाईंका लघुकथा हृदयले पढ्नुपर्ने बताए । समाजका अध्यक्ष एवं साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले भदौ महिनाको सुरुवातमा उत्सवकै रूपमा लघुकथा दिवस मनाइरहेको जनाउँदै ओझेल परेको विधाको सम्वर्द्धनका लागि समाजले काम गर्दै आएको जनाए । सचिव तुलसीहरि कोइरालाले साहित्यको क्षेत्रमा कान्छो विधाको रूपमा लिइएको लघुकथाका हालसम्म करिब ३ सय ५० कृति सार्वजनिक भइसकेको बताए । कार्यक्रममा पुरस्कृत स्रष्टाका लघुकथालाई सर्वनामका कलाकारहरूले मञ्चनसमेत गरेका थिए भने पुष्करराज भट्ट र धनमान श्रेष्ठले लघुकथाबारे प्रकाश पारेका थिए ।

Page 14
समाचार

आन्दोलनमा जाने घोषणा

- कान्तिपुर संवाददाता

टीकापुर – यहाँ सोमबार सम्पन्न थरुहट–थारूवान सम्मेलनले १५ बुँदे घोषणापत्र जारी गर्दै बन्दीहरू रिहाइको माग गरेको छ । टीकापुर घटनापछि विभिन्न अभियोगमा विभिन्न मुद्दामा थुनिएका कैलाली–१ का प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलगायतलाई निःसर्त रिहाइ गर्नुपर्ने माग घोषणापत्रमा छ ।
सम्मेलनले टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्नका लागि तत्कालीन सरकारले पूर्वन्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वको न्यायिक समिति र गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदनहरू सार्वजनिक गर्नुपर्ने माग गरेको छ । त्यसैगरी, थरुहट आन्दोलनका क्रममा टीकापुर घटनापछि २०७२ भदौ ८ को निषेधाज्ञा लागेकै समय थारूहरूको घर पसल तथा व्यावसायिक केन्द्रहरूमा गरिएको आगजनी र लुटपाटमा संलग्नलाई तुरुन्त पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने माग पनि गरेको छ । संविधानको अन्तरवस्तुमा जातीय ऐतिहासिक पृष्ठभूमिका आधारमा पहिचानसहित थरुहट स्वायत्त प्रदेश नामांकन, सीमांकन, पूर्ण समानुपातिक निर्वाचन
प्रणाली, राज्यको हरेक अंगमा जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, थारू जाति समुदायको प्रथाजनित एवं परम्परागत कानुनी मूल्यमान्यता एवं बरघर, भलमन्सा, मटावा प्रथालाई कानुनी मान्यता दिनुपर्ने माग पनि घोषणापत्रमा छ ।
सम्मेलनबाट आन्दोलनलाई थारू अगुवाहरूले चार वर्षपछि फेरि निरन्तरता दिने उद्घोष गरेका छन् । थरुहट प्रदेशको माग पूरा गराउन आन्दोलन केन्द्रित रहने जानकारी सम्मेलनको समापनमा दिइयो । यसका लागि लक्ष्मण थारूको संयोजकत्वमा १ सय १ सदस्यीय थरुहट–थारूवान राष्ट्रिय मोर्चा गठन गरिएको छ । आन्दोलनका कार्यक्रम तीन चरणमा अघि बढाइने जानकारी दिएका थारू अगुवाले शान्तिपूर्ण रूपमा आफ्ना माग राखिने जनाएका छन् ।
तीन दिनदेखि जारी सम्मेलनका क्रममा सुरक्षा तैनाथी बाक्लो पारिएको टीकापुरमा सोमबार भने चहलपहल रह्यो । सिद्धार्थ चोकमा तीजका लागि लुगाकपडा किन्नेहरूको घुइँचो लागेको थियो । ‘सम्मेलन सुरु हुनुअघि अब के हुने होला भनेर अलि त्रास थियो,’ कपडा व्यवसायी रमेश शाहले भने, ‘धेरै पुलिस खटाइएको देखेर त्यस्तो लाग्नु पनि स्वाभाविक थियो । तर, सम्मेलन अवधि शान्तिपूर्ण देखियो । टीकापुर पुरानै लयमा फर्केको छ ।’ सम्मेलन अवधिभर कहींकतै सामान्य भनाभनसमेत नहुनुले टीकापुर हिंसाको घटना बिर्सन सघाएको उनले बताए । ‘टीकापुर घटना विगतको दुःखद घटना हो,’ स्थानीय द्वारिका तिमिल्सिनाले भने, ‘यहाँ हामी सबै मिलेर बसेका छौं । बाहिर चर्चा भएजस्तो टीकापुरमा माहौल खराब छैन ।’

समाचार

टिपर आतंक रोकिएन

सिनामंगलमा आइतबार एकको मृत्यु
- दीपेन्द्र विष्ट

काठमाडौं - तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिपरले आइतबार राति सिनामंगलमा मोटरसाइकललाई ठक्कर दिँदा पासाङ भोटेको मृत्यु भएको छ । तीव्र गतिमा आएको टिपरले कार्गो कार्यालयनेर बा८५प ५६९, बा३८प २३९३ र ना४३प ८७३५ नम्बरका तीनवटा मोटरसाइकललाई ठक्कर दिएको थियो । बा८५प ५६९ नम्बरका चालक छाङबुङ भोटे, ना४३प ८७३५ नम्बरका चालक प्रमोद धिताल घाइते भए भने बा३८प २३९३ नम्बर मोटरसाइकलका चालक भोटेको मृत्यु भयो । मोटरसाइकलमा सवार सिसम वाग्ले र प्रवीन धिताल पनि घाइते भएका छन् ।
टिपर र ट्रकको ठक्करबाट मानिसको मृत्यु भएको यो नौलो घटना होइन । एक वर्षअघि स्कुटरमा यात्रारत २४ वर्षीया अस्मिता भण्डारीलाई काठमाडौंको जडीबुटी चोकमा बा४ख ३५५० नम्बरको टिपरले किचेर मृत्यु भयो । गत वर्ष असारमा भक्तपुरकै सानोठिमीमा टिपरको ठक्करबाट चेतबहादुर थापाको ज्यान गयो । गत वर्ष जेठमा भक्तपुर साँगामा टिपरकै कारण हरि कटुवाल, सविता घिमिरे र अविन्द्र घिमिरेको ज्यान गएको थियो ।
मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७५/७६ मा मात्र २ हजार ७ सय ६२ जनाको दुर्घटनामा मृत्यु भएको प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांक छ । मुलुकभर २१ हजार ६ सय ५४ सवारी दुर्घटना भएका थिए । निर्देशनालयका अनुसार टिपर र ट्रकसँग जोडिएका ८० प्रतिशत दुर्घटनामा चालकको लापरबाही देखिएको छ ।
सवारी दुर्घटना र त्यसबाट घाइते र मृत्यु हुनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ । आव २०७३/७४ मा १६ हजार ५ सय १५ वटा दुर्घटना भएका थिए । त्यसमा टिपर र ट्रकका कारण मात्र भएका दुर्घटना २ हजार २ सय ३० वटा थिए । दुर्घटनामा २ हजार ३ सय ८४ जनाको मृत्यु भएको थियो । यस आर्थिक वर्षमा चालकको लापरबाहीले गर्दा भएका दुर्घटना संख्या ७ हजार ४ सय ८७ थिए । आव ०७४/७५ मा १८ हजार ३४ वटा दुर्घटना भएका छन्, जसमा टिपर र ट्रकका कारणले मात्र २ हजार ४ सय ३० दुर्घटना भएका थिए ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख वसन्त पन्त टिपर दिउँसो चलाउन बन्द गरे पनि दुर्घटना भइरहेको बताए । सडक लेन अनुशासन उल्लंघन गर्ने, तीव्र गतिमा गाडी कुदाउने, जथाभाबी ओभरटेक गर्ने, गाडी चलाउँदा मोबाइलमा कुरा गर्ने, गीत सुन्नेजस्ता कारणले पनि दुर्घटना बढिरहेको उनले बताए । ‘गन्तव्यमा पुग्न तँछाडमछाड गर्छन्,’ उनले भने, ‘ट्रिप गरेर बढी कमाउन तीव्र गतिमा चलाउँछन् ।’ टिपर अन्य गाडीको तुलनामा बलियो हुने भएकाले चालकले सामान्य ठोक्किँदा फरक पर्दैन भन्ने मनोविज्ञानबाट तीव्र गतिमा चलाउने गरेको उनले बताए ।
उपत्यकामा मात्र पछिल्लो एक वर्षमा टिपरले ठक्कर दिएर मृत्यु भएकाको संख्या १२ पुगेको छ । महाशाखाको तथ्यांकअनुसार आव २०७५/७६ मा २७ सय ९ दुर्घटना टिपर र ट्रकबाट भएका थिए । यीसमेतका सडक दुर्घटनामा परी उपत्यकामा २ सय ५४ जनाको मृत्यु भएको थियो । यी दुर्घटनामध्ये अधिकांशमा चालकको लापरबाही नै मुख्य कारण देखिएको छ ।
नेपाल प्रहरीका पूर्वएआईजी जयबहादुर चन्द दण्ड जरिवानाको व्यवस्थै संशोधन गर्नुपर्ने बताउँछन् । ‘अनुगमन फितलो हुन भएन, चालक शिक्षाको पनि कमी छ,’ उनले भने । सडकको नाजुक अवस्था पनि दुर्घटनाको कारक रहेको उनले बताए । ‘बिनाइन्जिनियरिङ सडक निर्माण गरिएको छ,’ उनले भने । टिपर दुर्घटनाको जिम्मेवार चालक नै भएको यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमालले बताए । ‘टिपर चालक निकै अराजक छन्,’ उनले भने ।

समाचार

धरौटी राख्दै म्यानपावर कम्पनी

- कान्तिपुर संवाददाता

काठमाडौं – वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) हरूले सरकारले निर्धारण गरेको धरौटी रकम राख्न थालेका छन् ।
तत्कालका लागि सबैभन्दा कम २ करोड रुपैयाँ धरौटी राख्न थालेका छन् । सोमबारसम्म एक सय ९ वटा कम्पनीले ५० लाख रुपैयाँ नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राखिसकेका छन् ।
सरकारले म्यानपावर कम्पनीको संख्यालाई नियन्त्रण गर्न र पीडित कामदारले पाउने क्षतिपूर्ति ग्यारेन्टी गर्न बैंक धरौटी बढाएको थियो र भदौ १६ गतेभित्र धरौटी रकम जम्मा गर्न समय तोकेको थियो । ‘सरकारले कामदार पठाउने संख्याका आधारमा फरकफरक धरौटी रकम निर्धारण गरेको छ,’ वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले कान्तिपुरलाई भने, ‘म्यानपावर कम्पनीको रोजाइमा निर्धारितमध्ये कम धरौटी रोजेका छन् ।’ वर्षमा १० हजारभन्दा बढी कामदार पठाउने कम्पनीले समेत धरौटी कम राखेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदार पठाउने संख्याका आधारमा तीन तहको धरौटी रकम निर्धारण गरेको थियो । वर्षमा ३ हजार कामदार पठाउने कम्पनीले ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी, ५ हजारसम्म कामदार पठाउनेले एक करोड नगद र २ करोड बैंक धरौटी तथा ५ हजारभन्दा बढी कामदार पठाउने कम्पनीले दुई करोड रुपैयाँ नगद र चार करोड बैंक ग्यारेन्टी राख्नुपर्छ ।
वैदेशिक रोजगार व्यवसायीले आवश्यक परेपछि थप्ने योजना बनाएका छन् । ‘अहिले व्यवसायीका लागि कठिन छ । प्रमुख गन्तव्य मलेसिया बन्द छ । खाडीमा पहिलेजस्तो अवसर छैन,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले भने, ‘अवस्था सुधार भए रकम थप्दै जानेछौं ।’
भदौ १६ गतेभित्र धरौटी नबुझाउने कम्पनीको कारोबार रोक्का हुने विभागले जनाएको छ । भुसालले भने, ‘म्याद थपिने स्थिति छैन ।’ उनले म्यानपावर कम्पनीलाई मर्जरको सुविधासमेत दिइएको बताए । ‘एउटै घरका सदस्यले एकभन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न पाइने अनुमति छैन । उनीहरूलाई मर्जरको सुविधा दिइएको छ,’ उनले भने । विभागले कामदारको संख्या बढेमा पछि धरौटी बढी राख्ने व्यवस्थाबारे कानुन स्पष्ट नभएको जनाएको छ । ‘जति धरौटी राखिएको छ । त्योअनुसार कामदार पठाउन मिल्छ । आफ्नो सीमाभन्दा बढी कामदार जाने अवस्थाले थप धरौटी राख्नुपरे लिने कि नलिने भन्ने विषयमा स्पष्ट छैन,’ भुसालले भने, ‘थप व्याख्या हुनुपर्छ ।’ विभागमा १२ सय ३५ म्यानपावर कम्पनी दर्ता भएकामा ११ सय ४२ ले कामदार पठाउन पाएका छन् । ९३ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको छ ।

Page 15
समाचार

डेंगुबाट चितवनमा एकको मृत्यु

पोखरामा ३ सय ५ जनामा संक्रमण
परीक्षण किट मगाइँदै
स्याङ्जामा पनि भेटिए बिरामी
- रमेशकुमार पौडेल,विना थापा
भरतपुर अस्पतालमा डेंगु प्रभावितहरूको उपचार हुँदै । तस्बिर : रमेशकुमार/कान्तिपुर

चितवन र कास्की -डेंगुले चितवनमा एक जनाको मृत्यु भएको छ भने पोखरा र चितवनमा संक्रमितको संख्या बढिरहेको छ । स्याङ्जामा पनि एक व्यक्तिमा डेंगु फेला परेको छ ।भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत ७१ वर्षीय पुरुषको डेंगुले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साउनयता चितवनमा २ सय ६६ जनामा संक्रमण भेटिएको छ, भरतपुर अस्पतालमा डेंगुका बिरामी थपिइरहेका छन् । पोखरामा सोमबारसम्म डेंगुका बिरामी ३ सय ५ जना पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले जानकारी दिए । सोमबार मात्रै २५ नयाँ बिरामी भेटिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार नारायणगढ गंगोत्री मार्गमा बस्दै आएका नवलपरासीका पुरुषको साउन ३१ गते मृत्यु भए पनि भदौ ६ गते मात्रै त्यसबारे जानकारी आएको थियो । ज्वरो आएपछि साउन २९ गते उनी उपचारका लागि भरतपुर सामुदायिक अस्पताल गएका थिए । त्यसै दिन थप उपचारका लागि चितवन मेडिकल कलेज भर्ना भएका थिए । नारायणगढको गंगोत्री मार्ग, कमलनगर र भरतपुरको बजार क्षेत्रमा डेंगुका बिरामी बढ्न थालेको केसीले जानकारी दिए । ‘समस्या देखिएका ठाउँमा डेंगु नियन्त्रणका लागि चेतनामूलक अभियान चलायौं,’ केसीले भने ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीला पौडेलका अनुसार आइतबारसम्म डेंगुका ९१ जना बिरामी भेटिएका छन् । २५ जना अटाउने अस्पतालको मेडिकल वार्डको महिला कक्षमा सातजना डेंगु बिरामी छन् । पुरुष वार्डमा दुई जना भर्ना भएका छन् । डेंगु संक्रमण देखिएपछि पूर्वी नेपाल घर भई नारायणगढ क्षेत्रपुर बस्दै आएका राजकुमार र आशा रसाइली भरतपुर अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् ।
सन् २०१० मा चितवनमा यो रोगले धेरैलाई सताएको थियो । निरीक्षक केसीका अनुसार त्यतिबेला ७ सय ३९ जनामा डेंगु भेटिएको थियो । जसमध्ये पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिन्टेन्डेन्ट (मेसु) डा. श्रीराम तिवारीका अनुसार डेंगु हुँदैमा कसैको ज्यान गइहाल्दैन तर उपचारमा तदारुकता नदेखाए अन्य समस्या आएर मृत्यु हुन सक्छ । तीन दिनभन्दा बढी ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी र पछिल्लो भाग दुख्नु, ढाड, जोर्नी तथा मांसपेशी दुख्नु, शरीरमा बिमिरा आउनु डेंगुको लक्षण हो । ०७४ सालको दसैंमा पनि रत्ननगरमा डेंगुले महामारीको रूप लिएको थियो । पोखरामा डेंगु बिरामी बढ्न थालेपछि त्यसको परीक्षणका लागि बल्ल किट मगाउने तयारी भएको छ । प्रदेशकै ठूलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सोमबार किट माग्ने प्रक्रिया थालिएको जनाएको हो ।
किट अभावमा परीक्षण हुन नसकेकाले प्रदेश स्वास्थ्य निर्देशनालयसँग माग्न लागिएको अस्पतालका निर्देशक अर्जुन आचार्यले बताए । अस्पतालले बिरामीलाई निजीमा रिफर गर्दै आएको छ । अस्पतालमा हालसम्म ३ जनाको मात्र उपचार भएको थियो । निजी अस्पतालमा किटको खर्च बिरामीले तिर्दै आएका छन् । गण्डकी मेडिकल कलेजका डेंगु फोकल पर्सन महेश बन्जराका अनुसार किटको खपत धेरै छ । ‘डेंगु बढ्न थालेपछि किटको अभाव भएको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा दैनिक सय किट खपत हुन्छ ।’ अस्पतालमा सोमबारसम्म आएका ६ सय ७७ जनामध्ये १ सय २८ जनामा डेंगु देखिएको छ । यस्तै फेवासिटी अस्पतालमा ४ सय ५३ किट प्रयोग भएको र १ सय २३ जनामा डेंगु देखिएको अस्पतालका प्रबन्धक त्रिभुवन पराजुलीले बताए । उनका अनुसार बिरामीलाई सिधै किट प्रयोग नगरी रगत जाँच गरेर हेरेपछि मात्रै लक्षणको आधारमा किट प्रयोग गरिने पराजुलीले बताए । प्रदेशको स्वास्थ्य निर्देशनालयमा ५ वटा मात्रै किट छन् । सरकारले निःशुल्क दिने घोषणा नभएकाले कुनै अस्पताललाई नदिएको अधिकृत आचार्यले बताए । उनका अनुसार निःशुल्क घोषणा गरिए प्रदेशका सरकारी अस्पताललाई मागअनुसार किट दिन सकिन्छ ।
बिरामीको फेवासिटी, गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पश्चिमाञ्चल सामुदायिक अस्पताललगायतमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार सेतो र कालो धर्का हुने एडिज, एजिप्टाई र एडिज एलबोपिक्टस नाम पोथी लामखुट्टेले टोकेपछि डेंगु सर्छ । यो लामखुट्टे सामान्यतया एक महिनासम्म बाँच्छ । यो लामखुट्टेले जमेको सफा पानीमा अन्डा पार्छ ।
यसैबीच जिल्ला अस्पताल स्याङ्जामा उपचार गराउन आएका पुतलीबजार नगरपालिका–२ का ३२ वर्षीय पुरुषमा डेंगु देखिएको मेडिकल रेकर्डर सुपरभाइजर बुद्धिसागर अधिकारीले बताए । बिहीबार भर्ना भएर उपचार गरिरहेका उनको ल्याब परीक्षणपछि आइतबार डेंगु पत्ता लागेको हो । उनको स्याङ्जामै उपचार भइरहेको छ । यसअघि गण्डकी प्रदेश राजधानी पोखरालगायत विभिन्न जिल्लामा डेंगु संक्रमित भेटिएका थिए ।

समाचार

४० वर्षदेखि जंगलको बास

पत्नी र छोराको निधनले विरक्त
- आश गुरुङ
लमजुङको दोर्दी–४, बाँसकोटमा बसेका ७३ वर्षीय शमशेर तामाङ ।तस्बिर : कान्तिपुर

लमजुङ - त्रिपालको छाप्रोभित्र तीनवटा ससाना ढुंगा राखेर बनाइएको अँगेनो । कालोमैलो सानो डेक्ची र ताप्केछेउ सेतै फुलेका कपाल र दारीले ढपक्क वृद्ध बसेका छन् । यी ७३ वर्षीय शमशेर तामाङ हुन् । कालोमैलो हाफपेन्ट, धर्के गन्जी, घाँटीमा लामाको माला र कम्मरमा पछ्यौरी बेरेका उनी एक्लै जंगलमा बस्छन् । ओढ्ने–ओछ्याउने बोरा छ । ३० वर्षको छँदा पत्नी बिलुको मृत्यु भयो । डेढ वर्षका छोरा पनि बिते । पारिवारिक पीडा खेप्न नसकेर गाउँघर छाडेका उनी पछिल्लो एक दशकयता गाउँ वरपर देखिएको स्थानीय बताउँछन् । उनलाई गाउँले मेमे लामा भनेर चिन्छन् ।
दोर्दी गाउँपालिका–४ बाँसकोट गाउँनजिकै बजिनीपाखामा उनको बसाइँ छ । उनी आफ्नो बासस्थान फेरिहन्छन् तर जता गए पनि जंगलमै बस्छन् । उनको गाउँ बाँसकोट नै हो । आफ्नै गाउँ र छिमेकी गाउँलेसँग मागेर गुजारा चलाउने उनी एकैपटक अलि धेरै खानेकुरा बोकेर जंगल पसे भने धेरै दिनपछिमात्रै बाहिर निस्कन्छन् । स्थानीय तुलमाया तामाङका अनुसार शमशेर ३० वर्षको छँदा हराएका थिए । धेरै दिन गाउँमा देखिएका थिएनन् । ९/१० वर्षयता उनी पुनः गाउँ वरपर देखिन थालेका हुन् । जंगल, ओडार, पाखोबारी, खोला किनारमा शमशेरको बास हुन्छ । उनले ४० वर्ष बढी समय जंगल, खोलानाला किनार, ओडारलगायतमा बितेको बताए । ‘म यतै कतै थिएँ । जंगल, खोलानाला किनार, ओडारमा थिएँ । मलाई मान्छेले देख्ने ठाउँमा बस्न मन लाग्दैन । एक्लै बस्न मन छ,’ गुरुङ र तामाङ भाषा बोल्ने उनले भने, ‘पीरले घर छाडेको हुँ ।’ विगत सम्झन मन नभएको उनले बताए । ‘मलाई यहीँ ठीक छ । कसैलाई केही भन्नु छैन,’ उनले भने । वडाध्यक्ष सुकबहादुर गुरुङका अनुसार पत्नी र छोराको निधन भएपछि विरक्तिएर तामाङले घर–समाज छाडेका हुन् । गाउँ नजिकै पाखो बारीमा देखिएका उनी कहिले मर्स्याङदी, कहिले दोर्दीकिनार, ओडार तथा जंगलमा बस्दै आएका छन् ।
‘हामी बसोबासको व्यवस्था मिलाउँछौं, आउनोस्, जंगलमा नबस्नोस् भन्दा पनि उहाँ मान्नुहुन्न । आफ्नै सुरको, हुनुहुन्छ । सम्झाउनै सकिन्न,’ वडाअध्यक्ष गुरुङले भने । उनका अनुसार शमशेरको ७३ वर्षको उमेरमा नागरिकता बनेको छ । ‘नागरिकता बनाउनुस् । पैसा (भत्ता) पाइन्छ भन्दा पनि कहाँ मान्ने र ? फकाएर ल्याएर नागरिकता बनाइदियौं,’ उनले भने । वडा कार्यालय, प्रहरीको समन्वयमा कानुनी प्रक्रिया पूरा गरेर गत साउन २० मा उनलाई नागरिकता दिलाइएको हो ।



समाचार

कर्मचारी दरबन्दी पुनरावलोकन गर्न माग

- कान्तिपुर संवाददाता

काठमाडौं – नेपाल निजामती कर्मचारी संगठनले तीनवटै तहमा निजामती कर्मचारीको दरबन्दी पुनरावलोकन गर्न माग गरेको छ । संगठनको भदौ ६ र ७ गते काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष केदारप्रसाद देवकोटाले बढदो जनसंख्या, सहरीकरण, बसाइँ सराइ, भौगोलिक विविधता, नागरिक अपेक्षा र अन्तर्राष्ट्रिय मापदण्डअनुसार दरबन्दी पुनरावलोकन गर्नुपर्ने बताए ।
संगठनले तीनवटै तहमा कार्यरत कर्मचारीलाई श्रेणीगत वा तहगत एकै प्रणालीमा व्यवस्थापन हुने गरी ऐन निर्माण गर्न पनि ध्यानाकर्षण गराएको छ । समायोजन ऐन ०७५ बमोजिम शैक्षिक योग्यता र सेवा अवधि ५ वर्ष पूरा गरी प्रदेश र स्थानीय तहमा तह वृद्धि भई समायोजन भएका कर्मचारीले साविकको श्रेणीमा खाइपाई आएको ग्रेड रकम हालको तहको दरमा मिलान गरी उपलब्ध गराउन संगठनले माग गरेको छ ।
यस्तै सर्वोच्च अदालतको फैसलाबमोजिम ०५७ देखि प्राविधिक वा सोसरहका कर्मचारीले खाइपाई आएको प्राविधिक ग्रेड हालको तलबमानअनुसार उपलब्ध गराउनसमेत माग गरेको छ । प्रदेश र स्थानीय तहमा समायोजन भएर गए पनि हाजिर गर्न नपाएपछि फर्किएका कर्मचारीलाई सम्बन्धित कार्यालयमै हाजिर गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
स्वास्थ्य सेवाका कर्मचारीको समायोजन पदस्थापन प्रक्रियामा देखिएका समस्या वार्ता र संवादका माध्यमबाट समाधान गर्न, स्थगन गरिएको समायोजन प्रक्रिया सुचारु गर्न र स्वास्थ्य सेवाका कर्मचारीको समायोजन नयाँ सूची तत्काल सार्वजनिक गर्न माग गरेको छ । जोखिमयुक्त काममा कार्यरत कर्मचारी (विषादी, प्रयोगशाला, पोखरी, पशु उपचार, सर्वे, स्वास्थ्य उपचार, निर्माण कार्य, सवारी चालक, वनरक्षक) र फिल्डमा कार्यरत रही सेवा प्रदान गर्ने कर्मचारीलाई जोखिम तथा फिल्ड भत्ताको व्यवस्था गर्नसमेत माग गरेको छ ।

समाचार

‘एक सातामा सूची नआए बाहिरिन्छौं’

सत्य निरूपण आयोग
- घनश्याम खड्का

काठमाडौं - संक्रमणकालीन आयोगहरूमा पदाधिकारी नियुक्तिका लागि उम्मेदवारहरूको सूची एक साताभित्र सार्वजनिक नगरे सिफारिस समितिबाट राष्ट्रिय मानवअधिकार आयोग अलग हुने भएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले भदौ १७ गते बस्ने भनिएको समितिको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका लागि उम्मेदवारहरूको नाम सार्वजनिक नगरे आफ्ना सदस्यलाई फिर्ता बोलाउने बताए । ‘सिफारिस समितिले पदाधिकारी सिफारिस नगरी बस्नुले राजनीतिक निर्देशन पर्खिबसेको भन्ने नै बुझाउँछ,’ उनले भने, ‘नेताहरूले जे भन्छन् त्यही मान्ने हो भने समिति हुनुको अर्थ छैन । त्यसैले यसबाट हामी अलग हुने अवस्थामा पुगेका हौं ।’
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित ५ सदस्यीय सिफारिस समितिमा आयोगका तर्फबाट एक आयुक्त पदेन सदस्य रहने कानुनी व्यवस्था छ । त्यसअनुसार आयोगले सर्वोच्चका पूर्वन्यायाधीशसमेत रहेका प्रकाश वस्तीलाई समितिमा पठाएको थियो । वस्ती र अघिल्लो पटकको सिफारिस समितिमा आयोगका तर्फबाट पदेन सदस्य रहेका सुदीप पाठकसँग आयोगका अध्यक्ष शर्माले गत बिहीबार छलफल गरेका थिए । त्यस क्रममा उनले सिफारिसमा ढिलाइ भएपछि आफ्नो प्रतिनिधि फिर्ता बोलाउनेबारे विचार गर्ने अवस्थामा पुगेको जनाउ दिएका थिए । सिफारिस समितिको क्षेत्राधिकार मिच्दै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष तथा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा नियुक्त गर्ने विषयमा छलफल चलेको थियो । त्यसको भोलिपल्टै शर्माले आफ्ना आयुक्तहरूसँग छलफल गरेपछि शीर्ष दलको अनधिकृत पहलले ‘नियुक्ति प्रक्रियामा निष्पक्षता, तटस्थता र पारदर्शितासमेत नरहने अनुभूति आयोगलाई भएको’ भन्दै विज्ञप्ति जारी गरेका थिए । त्यसै दिन द्वन्द्वपीडितहरूले पनि समिति राजनीतिक बन्धक भएको भन्दै यसलाई भंग गर्न अपिल गरेका थिए । ‘यति भइसकेपछि समितिले गम्भीर भएर काम गर्नुपर्ने हो,’ शर्माले कान्तिपुरसँग भने ।
गत चैत १२ गते गठन भएको समितिमा दुवै आयोगका लागि ५७ जनाको उम्मेदवारी परेको छ । ‘कानुनअनुसार निवेदकहरूको सूची समितिले त्यतिबेलै प्रकाशित गरेर उनीहरूमाथि कुनै सार्वजनिक गुनासो वा उजुरी भए त्यसको जानकारीसमेत लिनुपर्थ्यो,’ शर्माले भने, ‘सूचीकृत उम्मेदवारमध्ये योग्यतमलाई समितिले सिफारिस र उम्मेदवारी नदिएको कोही तीभन्दा पनि योग्य भए सामेल गर्न सक्थ्यो ।’ समितिले दलहरूको निर्देशनमा पदाधिकारीको सिफारिस गर्न कुरेर बसेको आरोप पीडितहरूले पनि लगाउँदै आएका छन् 

Page 16
समाचार

चिउरी र चमेरा जोगाउँदै चेपाङ

‘चमेराले चिउरीका फूलमा परागसेचन गराउँछ भन्ने हामीलाई थाहै थिएन । चिउरीमा दाना नलाग्नुको कारण चमेराको सिकार रहेछ । छोरीचेलीलाई घर पठाउँदा चिउरीको एउटा बिरुवा दिने चलनको महत्व बल्ल बुझ्यौं ।’
- प्रताप विष्ट

मकवानपुरको राक्सिराङ गाउँपालिका—६ सिलिङेमा चेपाङ महिला चिउरी सुकाउँदै । तस्बिर : प्रताप/कान्तिपुर

हेटौंडा - खोलाछेउका बजारमा सिन्कामा माछा उनेर बेच्न राखे जसरी चमेरा राखेको देख्नुभएको छ ? चेपाङ बहुल बस्ती पुगेकाहरूले अवश्य देखेको हुनुपर्छ । अबका दिन त्यसरी चमेरा मारेर खान राखिएको भेटिँदैन । जहाँजहाँ भेटिन्छन्, त्यहाँ पनि चिउरीको फाइदा बुझेकाहरूले अवस्थामा परिवर्तन ल्याइरहेका छन् ।
चिउरी पाक्ने याम चेपाङका अनुहारमा बेग्लै प्रकारको खुसी हुन्छ । पातको टपरी हुने, दानाको घिउ भुटुन र बत्ती बाल्न काम लाग्ने भएकाले चेपाङ र चिउरी एकअर्काका अभिन्न मानिन्छन् । पछिल्ला केही वर्षयता चिउरीमा दाना लाग्ने क्रम घटेको थियो । धेरैले कारण पहिल्याए चमेराको सिकार । चिउरीको फूलको रस चुस्न आउने चमेराले परागसेचनमा सघाउँछ । जब चमेरालाई भुवा (जाल) मा पारेर भटाभट मार्दै खान थालियो, असर चिउरीका रूखमा देखियो । दाना कम लाग्न थालेपछि राक्सिराङमा सामुदायिक वन समूहको अगुवाइमा चिउरी र चमेरा संरक्षणको अभियान सुरु भयो । चिउरीका हुर्केका रूखको संरक्षण र एक घर ५० वटा चिउरीको बिरुवा लगाउने अभियान यतिबेला क्रमिक रूपमा प्रभावकारी देखिएको छ । राक्सिराङ गाउँपालिका ६ सिलिङेको सिलिङे सामुदायिक वनले गत वर्ष यो अभियान थाल्ने योजना अघि सार्दा किट विकास निर्देशनालय काठमाडौंले बिरुवा ढुवानी गर्न ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो । चितवनको भण्डारास्थित मौरीपालन केन्द्रबाट पहिलो खेप ५ हजार बिरुवा ल्याएर सिलिङेमा बाँडियो । ‘त्यो खेपका धेरैजसो बिरुवा हुर्कंदै छन्,’ वन उपभोक्ता समिति अध्यक्ष आइतेसिंह चेपाङले भने, ‘चिउरीको महत्त्व अलि ढिला बुझ्यौं, अझै पनि ढिला भइसकेको रहेनछ ।’ चिउरीको रूखबिरुवा संरक्षणका लागि समूहले दुई जना हेरालु राखेको उनले बताए ।
‘त्यो चमेराको खुट्टामा टाँसिएर चिउरीका फूलमा परागसेचन हुन्छ भन्ने हामीलाई थाहै थिएन, जसले भेट्यो मार्‍यो, खायो,’ उनले भने, ‘गेडा किन लागेनन् भन्ने थाहा पाएपछि अब हामीले चमेरा मार्न रोकेका छौं । चिउरीमा गेडा लाग्न पनि बढेको छ ।’ चेपाङले छोरीचेली घर पठाउँदा चिउरीको एउटा बिरुवा पनि दिएर पठाउने चलन बोटबिरुवा संरक्षण र समुदायको सुखका लागि भएको महत्त्व अहिले बल्ल सबैले बुझ्न थालेको उनले बताए । सिलिङेको जंगल चिउरीकै वन हो । ‘चिउरीका गेडाको घिउ हाम्रो भुटुन र उज्यालोको स्रोत त हो नै, पात र काठ पनि काम लाग्ने नै भयो,’ उनले भने, ‘समुदायलाई कुरा बुझाएपछि अहिले जोगाउनुपर्छ भन्नेमा एकमत छौं ।’ भूक्षय रोकथामका लागि पनि चिउरीको
रूखको भर रहेको उनले बताए ।
‘अरू वनस्पतिको फागुन–चैतमा सबै पात झरेर जंगल नै उराठ हुन्छ,’ डिभिजन वन हेटौंडाका सहायक वन अधिकृत अच्युत लामिछानेले भने, ‘तर चिउरीको पात साउन–भदौमा मात्र झर्छ ।’ हरियालीका लागि पनि चिउरीको बेग्लै महत्त्व रहेको उनले बताए । चिउरी फूलको रसपान गरेका मौरीको मह स्तरीय र स्वास्थ्यबर्द्धक मानिन्छ । त्यसैले सिलिङेमा धेरै अघिबाट मौरी चराउन ल्याउनेको भीड लाग्ने गरेको थियो । रस चुस्ने मौरीले पनि परागसेचनमा सघाउँछन् । तर कुरा नबुझेका कतिपयले मौरी ल्याउने गरेका कारण पनि चिउरीमा दाना नलागेको ठानेर बाहिरका किसानलाई आउन रोक्दै थिए । सिलिङे सामुदायिक वन समूहका सदस्य स्थानीय आफैं यतिबेला मौरीपालनका लागि कस्सिएका छन् । आधुनिक घारमा ६१ घरधुरीले मेलिफेरा जातको मौरीपालन गरेका छन् । विगतमा घरका खापा वा मुढेघारमा सेरेना जातका मौरी पाल्ने फाट्टफुट्ट थिए । ‘सिलिङेका चेपाङ र तामाङले विगतको निर्वाहमुखसी मौरीपालनको शैलीमा परिवर्तन गरेका छन्,’ राक्सिराङ गाउँपालिकाका कृषि शाखा प्रमुख रामेश्वर यादवले भने, ‘व्यावसायिक ढंगले मौरी पाल्दाको फाइदा बुझेका छन् ।’ चिउरीको फूललाई नै लक्षित गरेर गत वर्ष सिलिङेका बासिन्दाले ६ हजार १ सय १३ वटा मौरीघार राखेका थिए । यस क्षेत्रका बासिन्दाले मह बिक्री गरेर मात्रै गत वर्ष करिब डेढ करोड रुपैयाँ हाराहारी आम्दानी गाउँमा भित्र्याएको वन समूह अध्यक्ष चेपाङले बताए । ‘चिउरी जोगाए हुने फाइदा बुझेपछि रोपौं, संरक्षण गरौं भन्न पनि सजिलो भयो,’ उनले भने । चिउरीको महको माग व्यापक भएकाले बेच्न समस्या छैन । लोथर बजारका व्यापारी दिनेश चेपाङले किसानसँग मह प्रतिकेजी २ सयदेखि २ सय २५ रुपैयाँमा खरिद गरेर प्रतिकेजी २ सय ५० मा सजिलै बेच्छन् । सिलिङेका आइतेसिंह चेपाङले गत वर्ष १६ लाख रुपैयाँको मह बेचे । सिलिङेका बासिन्दा अहिले चिउरीका पाकेका गेडा संकलन गर्दै सुकाउन जुटेका छन् । दसैंअघि काठको परम्परागत चेपुवामा ती दाना पेलेर घिउ निकालिन्छ । त्यही घिउ तरकारीमा भुटुन हाल्ने गरेका छन् । ‘चेपाङहरूको भुटुन चिउरीको घिउ हो,’ वडाध्यक्ष सिंहलाल चेपाङले भने, ‘हामीसँग चिउररीका गेडा पेल्न आधुनिक प्रविधि छैन । जे जानेका छौं, त्यही उपयोगमा छ ।’ चिउरीका रूख संरक्षण गर्दा लिन सकिने लाभको हिसाबकिताब गत वर्षबाट चेपाङ समुदायले राम्ररी बुझेको स्थानीय माविका प्रधानाध्यापक तारा दवाडीले बताए । ‘समुदायले आम्दानी गर्न थालेपछिको लाभ विद्यालयले पनि पाएको छ,’ उनले भने, ‘चेपाङहरूले बालबच्चालाई स्कुल नियमित पठाउने गरेका छन् ।’ पुराना रूख जोगाउनु र आफ्नो भिरालो जमिनमा नयाँ बिरुवा रोप्नु भनेको चिउरीले दिने आम्दानीलाई बुझेका कारण भएको उनले बताए । ‘चेपाङ, चिउरी र चमेरो एक–अर्काका परिपूरक हुन् । एकको अभावमा अर्को संकटमा पर्छ,’ पूर्वसभासद गोविन्दराम चेपाङ भन्छन्, ‘हाम्रो जीवनशैलीको अभिन्न कुराको महत्त्व बुझ्न हामीलाई नै समय लाग्यो ।’ समुदायले चमेरो र चिउरीको संरक्षण गर्नुपर्छ भन्ने बुझेपछिको अवस्था सकारात्मक रहेको उनले बताए । काँकडामा चमेरो संरक्षण समिति गठन गरिएको छ । उक्त समितिले चमेरो मार्न दिँदैन । विगतमा जाल हानेर चमेरो मारेर खाने गर्थे । ‘एकैरातमा एक/एक थुन्से भरी चमेरो मार्ने गरिन्थ्यो,’ संरक्षण समिति अध्यक्ष मोतीराम चेपाङले भने, ‘अहिले एउटा पनि मार्न दिएका छैनौं । चमेरो जोगाउँदाको फाइदा बुझाउने गरेका छौं ।’
मौरीको चरन क्षेत्र जोगाउन र भूक्षयलाई रोक्न मकवानपुरमा मात्र नभई गत वर्ष मुलुकका विभिन्न जिल्लामा चिउरीका ५० हजार बिरुवा रोपिएको थियो । भण्डाराको मौरीपालन विकास कार्यालयले तयार पार्ने बिरुवा मकवानपुरलगायत विभिन्न जिल्लामा पुगेको प्रमुख शिव रिजालले बताए । बिरुवा मकवानपुरका विभिन्न भागसँगै दाङ, चितवन, रौतहट, सर्लाही, बाँके, भक्तपुर र रूपन्देही पुर्‍याइएको छ ।
विगतमा जिल्ला वन कार्यालयले चिउरीको बोट रहेको क्षेत्रका बसोबासीलाई पुर्जी दिने गरेको थियो । जमिनको मालपोत कार्यालयले लालपुर्जा दिन्थ्यो, त्यसरी नै वन कार्यालयले रूखको संख्यासहितको पुर्जा दिने गरेको थियो । ‘२०४६ सालपछि त्यसरी पुर्जा दिन बन्द भयो,’ वडाध्यक्ष चेपाङले भने, ‘सम्बन्धित निकायले चिउरीको बोटको लालपुर्जा दिने व्यवस्था गर्नुपर्‍यो ।’ रूखको लालपुर्जा दिएपछि अपनत्व हुने र चेपाङको संस्कारसँग जोडिएकाले चिउरीको संरक्षण पनि हुने उनले बताए ।
सिलिङेका अधिकांश चेपाङसँग चिउरीका रूखको पुर्जा छ । पुर्जाविहीन चिउरीको बोटबाट हुने लाभ चेपाङले समुदायमा मिलेर लिने गरेका छन् । बिहे गरेर जाने छोरीलाई चिउरीको बोट दिने चलन अझै छँदै छ । विवाह गरेको चौथो वर्षको दसैंमा टीका लगाउन आउँदा दाइजोस्वरूप चिउरीको बिरुवा दिने गरिएको छ । छोरीको घर नजिकै भए बोटै दिन्छन् । छोरीको घर पक्का भो भनेर चौथो वर्षमा मात्र चिउरीको बिरुवा दाइजो दिने गरेका छन् । ‘चिउरी हाम्रो जीवनसँग जोडिएको छ,’ पूर्वसभासद चेपाङले भने, ‘चिउरी र चमेरो मासियो भने चेपाङ समुदायको पनि वास्तविक अस्तित्व रहँदैन ।’ जनगणना २०६८ अनुसार ६८ हजार ३ सय ९९ जनसंख्या भएको चेपाङ समुदाय मकवानपुरमा मात्रै १९ हजार १ सय ५२ छन् ।

Page 17
अर्थ वाणिज्य

स्वामित्व लिन सरकारलाई निवेदन

२० विद्युत् आयोजना रुग्ण
- विजय तिमल्सिना

काठमाडौं - सञ्चालन खर्चसमेत धान्न नसकेको भन्दै २० वटा साना आयोजनाले स्वामित्व लिइदिन सरकारलाई निवेदन दिएका छन् । कुल ७१ मेगावाट क्षमता भएका यी आयोजनामध्ये केही बैंकले लिलामी गर्ने अवस्थामा पुगेका छन् ।आयोजना प्रवर्द्धकहरूले रुग्ण जलविद्युत् आयोजना समन्वय समिति बनाएर आयोजनाको स्वामित्व लिई दायित्वबाट मुक्त गरिदिन ऊर्जा मन्त्रालयसहित, विद्युत् नियमन आयोग र विद्युत् विकास विभागलाई आग्रह गरेका हुन् ।
समन्वय समितिका संयोजक सूर्यप्रसाद अधिकारीले सरकारले प्रतिबद्धता गरेको सहुलियत नपाउँदा साना विद्युत् आयोजनामा रुग्ण अवस्थामा पुगेको भन्दै सञ्चालन खर्चसमेत नधान्ने स्थिति भएपछि सरकार गुहारेको बताए । ‘२० मध्ये एउटा आयोजनालाई बैंकले कालो सूचीमा राखिसकेको छ,’ उनले भने, ‘अन्य केहीलाई बैंकले कालो सूचीको सूचना निकाल्न अन्तिम पटक पत्र पठाएको अवस्था छ ।’ २० वटा यी साना विद्युत् आयोजनामा करिब १४ अर्ब लगानी भएको अनुमान छ । यी आयोजनाले करिब १० अर्ब ऋण बैंकबाट लिएको अधिकारीले बताए ।
ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले विद्युत् आयोजनाका प्रवर्द्धकहरूसँग यो विषयमा छलफल भएको बताए । ‘यो नियमित छलफल हो,’ उनले भने, ‘यो विशेष समस्या भएको होइन ।’ उनले आयोजना प्रवर्द्धकले आयोजनाको विद्युत् खरिद सम्झौता
टेक एन्ड पेबाट टे अर पे बनाइदिन आग्रह गरेको जानकारी दिए ।
आयोजना प्रवर्द्धकहरूले मन्त्रालयमा बुझाएको निवेदनमा विद्युत् खरिददर, बैंकको ब्याजदर, प्रसारण लाइनमा देखिएको समस्या, पानीको उपलब्धता घोषणा, ढिलो उत्पादन गर्दा हुने जरिवानाको विषयले समस्या निम्त्याएको दाबी गरेका छन् ।
‘ठूला आयोजनामा भन्दा साना आयोजनामा प्रतिमेगावाट लगानी बढी हुने तर विदेशी लगानी र सरकारी कम्पनीबाट निर्माण भएका ठूला आयोजनाहरूको विद्युत् खरिददरभन्दा निजी क्षेत्रबाट निर्माण भएका साना विद्युत् आयोजनाको खरिददर आयोजना आधा मात्रै भएको,’ मन्त्रालयमा बुझाइएको निवेदनमा भनिएको छ ।
साना विद्युत् आयोजना जोडिएको प्राधिकरणको ३३ केभीए प्रसारण लाइनमा ट्रिपिङ समस्याका कारण विद्युत् खेर जाँदा आयोजनाको आम्दानीमा १३ प्रतिशतसम्म कमी आएको प्रवर्द्धकको दाबी छ । आयोजनाले सुक्खा याममा ऊर्जाको उपलब्धता घोषणा गर्दा सोहीअनुसार ऊर्जा उत्पादन गर्न नसके १४ प्रतिशतसम्म जरिवाना तिरिरहेको अधिकारीले बताए ।
विद्युत् खरिद–बिक्री सम्झौता र कनेक्सन सम्झौतामा भएअनुसार प्रसारण लाइन समयमै नबन्दा वैकल्पिक व्यवस्था मार्फत विद्युत् प्रसारण गर्नुपर्दा ३० देखि ६० प्रतिशतभन्दा बढी क्षमतामा केही आयोजना सञ्चालन हुन नसकेको समन्वय समितिका संयोजक अधिकारीले बताए । ठेउले खोला जलविद्युत् आयोजना, चाकुखोला साना जलविद्युत् आयोजना, मध्य चाकु साना जलविद्युत् आयोजना, तल्लो चाकु खोला साना जलविद्युत् आयोजनासहित भैरवकुण्ड खोला, थोपल खोला, झ्याडी खोला, फावा खोला, टुगुन ढोस्ने, खानी खोला, माथिल्लो हाँडी खोला, हेवा खोला, सिरी खोला, सिप्रिङ खोला, बराम्ची, चर्नावली जलविद्युत् आयोजनाले मन्त्रालयमा निवेदन दिएका छन् । यसका साथै, तल्लो पिलुवा खोला, दरौदी ए साना, मोलुङ खोला र दरमखोला जलविद्युत् आयोजना पनि सूचीमा समावेश गरिएको छ ।
ऊर्जा मन्त्रालयमा दर्ता गरिएको निवेदनमा २०७१/७२ मा घोषणा भएबमोजिम निर्माण सम्पन्न भई व्यापारिक उत्पादन सुरु गरेका आयोजनालाई दिने भनिएको अनुदानबापतको रकम तत्काल भुक्तानी दिनुपर्ने माग गरिएको छ । यस्तै, २०७१ चैत मसान्तसम्म विभिन्न आयोजनालाई दिने भनिएको पोस्टेट रेटअनुसारको विद्युत् खरिददर कायम गरी विगतको बाँकी तत्काल भुक्तानी दिन पनि माग गरिएको छ ।
२०७२ मा जारी गरिएको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्रमा उल्लेख गरिएको पोस्टेट रेट २५ मेगावाटभन्दा कम क्षमताका सञ्चालनमा रहेका सम्पूर्ण साना विद्युत् आयोजनालाई दिनुपर्ने माग गरिएको छ । यस्तै, १० मेगावाटभन्दा कम क्षमताका आयोजनालाई ऊर्जाको उपलब्धता घोषणा गर्नुपर्ने प्रावधान हटाउनुपर्ने माग पनि गरिएको छ ।
महँगीको अनुपातमा विद्युत् खरिद दरलाई समायोजन गर्न वा कम्तीमा १५ प्रतिशत प्रतिफल हुने गरी कायम गर्न पनि माग गरिएको छ । प्रवर्द्धकले राखेको मागमा प्रसारण लाइन नबनेका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका आयोजनालाई शतप्रतिशत क्षतिपूर्ति दिन पनि निवेदनमा माग गरिएको छ ।

अर्थ वाणिज्य

नेप्से घट्ने क्रम जारी

- कान्तिपुर संवाददाता

काठमाडौं – सोमबार पनि नेप्सेको गिरावट रोकिएन । यही कारण अघिल्ला दुई कारोबार दिनमा जस्तै सोमबार पनि नेप्से परिसूचक ऋणात्मक रह्यो । अघिल्लो दिनको तुलनामा करिब साढे ६ अंकले घटेपछि समग्र नेप्से १ हजार २ सय ३.१३ विन्दुमा बन्द भयो । उक्त दिन बजार खुलेदेखि नै नेप्से घट्ने क्रम सुरु भएको थियो । बजार खुल्दा १ हजार २ सय ९.७१ विन्दुबाट सुरु भएको नेप्से निकै छोटो समय सकारात्मक देखिएको थियो । त्यो वृद्धि टिकेन । त्यसपछि नेप्से घट्न थाल्यो । अन्तिम समयमा केही सुधार देखिए पनि अन्ततः ६.४९ अंकले ऋणात्मक रह्यो ।
सोमबारको गिरावटसँगै नेप्से पछिल्ला तीन कारोबार दिनमा लगातार घटिरहेको छ । उक्त दिन कारोबारमा आएकामध्ये सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेमा दबाब परेको हो, जसमध्ये जीवन बिमा समूहको परिसूचक सबैभन्दा धेरै १.२ प्रतिशत घट्यो । बाँकी समूहको परिसूचक एक प्रतिशतभन्दा थोरैले घटे । करिब साढे ६ हजार कारोबारबाट १ सय ७२ कम्पनीका १६ लाख ३ हजार ३ सय २६ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ३८ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सोमबारको कारोबार केही बढी हो ।

अर्थ वाणिज्य

मलको अनुदान घटाउने तयारी

- कान्तिपुर संवाददाता,राजु चौधरी

काठमाडौ - सरकारले किसानलाई दिँदै आएको मल अनुदान करिब २० प्रतिशत घटाउने तयारी गरेको छ । मागअनुसार आपूर्ति सधैं कम भएपछि अनुदान घटाएर आयात परिमाणमा जोड दिन लागिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल अनुदानको विषयमा अध्ययन गर्न कार्यदल गठन भएको थियो । कार्यदलले पनि अनुदार केही मात्रामा घटाएर आपूर्ति नै व्यवस्थित बनाउन सुझाव दिएको हो । ‘मलको आयात परिमाण वृद्धि र सहज आपूर्ति बनाउन केही मात्रामा अनुदान नै घटाउनुपर्ने सुझाव छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘घटाउँदा केही सर्वसाधारणलाई मार पर्छ । सहज आपूर्तिका लागि अनुदान नघटाई अन्य उपाय पनि छैन ।’
यसअघि अर्थ मन्त्रालयले पनि युरिया मलको अनुदान झार्न सुझाव दिएको थियो । अर्थले अनुदान घटाएर आयात परिमाण बढाउन सुझाव दिएको थियो । कृषि मन्त्रालयका अनुसार हाल भारतमा मल महँगो हुँदा नेपालबाट तस्करी हुँदै आएको छ । मल तस्करी हुँदा बजारमा अभाव हुँदै आएको छ । त्यसलाई रोक्न पनि अनुदान केही घटाउनुपर्ने मन्त्रालयका कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका वरिष्ठ कृषि प्रसार अधिकृत नेत्रबहादुर भण्डारीले बताउँछन् । ‘भारतभन्दा सस्तो हुँदा आयातित मल भारततर्फ तस्करी भयो,’ भण्डारीले भने, ‘अनुदानको परिमाण केही घटाउदा मूल्य उस्तै/उस्तै हुन्छ ।
तस्करी हुने सम्भावना कम हुन्छ ।’ उनका अनुसार गत वर्ष पनि मलमा अनुदान घटाएर परिमाण बढाउने योजना थियो । तर, योजना सफल हुन सकेन । अहिले पुनः अनुदान घटाउने मन्त्रालयको तयारी हो । हाल युरिया मलमा ६९ प्रतिशत अनुदान दिइन्छ । अनुदान ५५/५६ प्रतिशतमा पुर्‍याउने तयारी भएको भण्डारीले बताए । ‘ढुवानी भाडाबाहेक सरकारले बिक्री मूल्य १४ रुपैयाँ तोकेको छ । त्यसलाई २०/२२ रुपैयाँ पुर्‍याउने तयारी छ,’ उनले भने, ‘त्यो भनेको मूल्य समायोजन हो । यसले मल आयातको मात्रा बढाउँछ ।’ मूल्य घटाउने सन्दर्भमा बनेको प्रतिवेदन मन्त्रीको कार्यकक्षमा पुगेको छ । प्रंतिवेदन मन्त्रिपरिषद् अथवा प्रधानमन्त्रीबाट स्वीकृत गराएर कार्यान्वयन गरिने जनाएको छ ।

मल वितरणमा कोटा
अनुदानको मल दुरुपयोग भएपछि सरकारले कोटा प्रणाली लगाउने भएको छ । यसका लागि कार्यविधि तयार भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । ‘अहिले मल वितरण केन्द्रबाट मात्रै हुन्छ । केन्द्रबाट अनुगमन गर्दा प्रभावकारितामा समस्या हुन्छ,’ प्रवक्ता सुवेदीले भने, ‘त्यसैले मल खपतको आधारमा कोटा निर्धारणको तयारी छ ।’ कोटा खेती गरिएको जग्गाको आधारमा हुने जनाएको छ । मन्त्रालयका अनुसार कुन/प्रदेशमा कति खपत भन्ने अध्ययन गरिएको छ । सबैभदा बढी दुई र तीन प्रदेशमा खपत हुन्छ । हाल अनुदानको मलका कृषि साम्रगी कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले बिक्री गर्दै आएका छन् । साल्टले ३० र कृषि कम्पनीले ७० प्रतिशत बिक्री गर्दै आएका छन् । अनुदानित मल कृषि सहकारी र डिलर सहकारीले मात्रै बिक्री गर्न पाइन्छ । कृषि सामग्रीसँग ५२ सय र साल्टमा २३ सय डिलर सहकारी दर्तामा छन् । त्योबाहेक अन्यले बेच्न पाइँदैन । केही व्यवसायीले अभावको फाइदा उठाउँदै कालोबजारीसमेत गरेको सरकारी अनुगमनबाटै पुष्टि भइसकेको छ । किसान तहसम्म पुर्‍याउन प्रदेश/स्थानीय तहबाट वितरणको योजना हो । अन्ततः गाउँपालिका/स्थानीय तहलाई नै प्रभावकारिता बनाउन खोजेको मन्त्रालयको दाबी छ । ‘प्राविधिक समितिले कार्यविधि पेस गरिसकेको छ । थप छलफल ररेर टुङ्गोमा पुर्‍याउँछौं,’ सुवेदीले भने, ‘सहकारीलाई मल दिँदा मल गाउँमा पुगे/नपुगेको सबै हेर्न सकिएन । स्थानीय तहलाई जिम्मा दिँदा अनुगमन र प्रभावकारी हुन्छ ।’

मागको ४० प्रतिशत मात्रै आयात
मन्त्रालयका अनुसार रोपाइँलगत्तै युरियाको माग उच्च हुन्छ । तर, मागको करिब ४० प्रतिशत मात्रै आयात भइरहेको छ । भण्डारीका अनुसार वार्षिक ७ देखि ८ लाख टन मल चाहिन्छ । यो मुख्य खाद्यान्न धान, मकै र गहुँका लागि हो । तर, मागको करिब ५० प्रतिशत पनि मल उपलब्ध हुन सकेको छैन । ५ लाख टन आयात गर्न समस्या केही समधान हुन्छ । ‘आयात ६० प्रतिशत मात्रै पुर्‍याउन सके किसानको गुनासो हुँदैन । अहिले रोपाई सकियो ।

अर्थ वाणिज्य

आजबाट सवारी मेला

नाडा अटो सो २०१९
- कान्तिपुर संवाददाता
गत वर्षको नाडा अटो सो मा राखिएका सवारी साधन तथा अवलोकनकर्ताहरू । फाइल तस्बिर : कान्तिपुर

काठमाडौं - आज (मंगलबार) बाट १४ औं संस्करणका रूपमा नाडा अटो सो सुरु हुँदै छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने सोमा यस क्षेका १ सय ६० वटा स्टल राखिएको छ । सो सुरु हुने औपचारिक कार्यक्रमको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्दै छन् । यो पटकको मेलाको व्यवस्थापन पक्षलाई बलियो र व्यवस्थित बनाइएको एसोसिएसनले जनाएको छ । प्रदर्शनीस्थलमा अवलोकनकर्ताको सुविधाका लागि अस्थायी आकाशे पुल निर्माण गरिएको छ । जसले अवलोकनकर्तालाई आवत जावतमा सजिलो हुने नाडाले जनाएको छ । आइतबारसम्म चल्ने मेलामा ७५ हजार दर्शकले अवलोकन गर्ने दाबी आयोजकको छ । सोमा नयाँ ब्रान्ड मुख्य आकर्षण बन्ने नाडा अटो सो–२०१९ का संयोजक निराकर श्रेष्ठले बताए ।
‘मेलाको सबै तयारी सकिएको छ । मंगलबार बिहान उद्घाटन गर्न मात्र बाँकी छ,’ संयोजक श्रेष्ठले भने, ‘तर पानी परेर केही समस्या होला कि भन्ने डर छ ।’ प्रदर्शनीमा चारपांग्रेतर्फ २३, दुईपांग्रेतर्फ १९ वटा ब्रान्डको सहभागिता रहनेछ । प्रदर्शनीमा १२ वटा लुब्रिकेन्ट्स, टायरका ९ वटा ब्रान्ड, ब्याट्रीका ५ र ग्यारेज उपकरणसम्बन्धी १४ वटा ब्रान्ड देख्न पाइनेछ । अहिले ९५ ब्रान्ड तथा कम्पनीको सहभागिता रहनेछ । अवलोनकर्ताले सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट पाइने ऋण र यससम्बन्धी बिमाबारे पनि जानकारी पाउनेछन् । १३ वटा बैंक तथा वित्तीय संस्थाको छुट्टै स्टल राखिएको छ ।

 

Page 18
अर्थ वाणिज्य

सांग्रिला–सिप्रदी सम्झौता

- कान्तिपुर संवाददाता

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङका बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदीका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौताअनुसार बैंकका ग्राहकहरूले सिप्रदीबाट नयाँ गाडी खरिद गर्न चाहेमा सम्झौताअनुसार कर्जासम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरूबाट प्राप्त गर्न सक्नेछन् ।

अर्थ वाणिज्य

महिन्द्रा एक्सयूभी ३०० को मूल्य सार्वजनिक

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं – टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले गाडी खरिदमा ग्राहकका लागि नयाँ अफर ल्याएको छ । मंगलबारबाट भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४ औं संस्करणको नाडा अटो सो २०१९ मा यस्तो अफर ल्याएको हो । सिप्रदीका अनुसार नाडा अटो सोमा टाटा एच फाइभ, टाटा एनआरजी, टाटा टिगोर, टाटा टियागो र टाटा नेक्सन बिक्रीमा राखिँदै छ । नाडा अटो सो मार्फत टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदै छ । सिप्रदीले ल्याएको योजनाअनुरूप नाडा अटो सोमा राखिएका टाटाका जुनसुकै गाडी किन्ने ग्राहकले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योर सट पुरस्कार जित्नेछन् ।

अर्थ वाणिज्य

हिरोको दसैं–तिहार योजना

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं– नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङले बडादसैं र तिहारका उपलक्ष्यमा ‘रातो टीका निधारमा नयाँ हिरो घरघरमा’ भन्ने नयाँ योजना ल्याएको छ । यस योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार रुपैयाँ पक्का डिस्काउन्ट र स्क्र्याच कार्ड मार्फत १ लाख रुपैयाँसम्म पाउन सक्नेछ । बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद पनि पाउने कम्पनीले जनाएको छ ।

 

अर्थ वाणिज्य

टीभीएसको 'दसैंको दौड'

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं – टीभीएस टु–ह्विलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले दसैंको अवसरमा टीभीएस दसैंको दौड योजना सार्वजनिक गरेको छ । उपहार योजनामा ग्राहकले नगद पुरस्कार जित्ने बहुअवसरहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ । जो कोहीले पनि टीभीएस सोरुममा नगईकनै वा टीभीएस बाइक नकिनेर नै यस योजनामा सहभागी बन्न सक्ने अवसरसमेत प्रदान गरिएको छ । जगदम्बा मोटर्सका नेपालभर १०० भन्दा बढी डिलर छन् ।

अर्थ वाणिज्य

बर्जर पेन्ट्सको कलर स्प्ल्यास

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं – बर्जर जेन्सन एन्ड निकल्सन नेपालले बडादसैं र तिहारका अवसरमा ग्राहकहरूका लागि एक प्रवर्द्धन योजना बर्जर कलर स्प्ल्यास सुरु गरेको छ । यो योजना भदौ १ देखि कात्तिक मसान्तसम्म लागू गरिएको छ । यस योजनाअन्तर्गत १०० वर्ग फिट सिल्क इलुसन डिजाइनको स्योर सट उपहार प्राप्त गर्न बर्जर पेन्ट्सका ग्राहकहरूले छानिएका ब्रान्डहरू खरिद गर्नुपर्नेछ ।
योजनाअन्तर्गत एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारमा नगद ५ लाख रुपैयाँ र २ जोडीले लन्डन ट्रिपको अवसर प्राप्त गर्ने जनाइएको छ । अन्य पुरस्कारमा ३२ इन्चको सामसुङ एलईडीटीभी २५ जनालाई, आन्तरिक ट्रिपहरू ५० जोडीलाई र सामसुङ मोबाइल फोन १०० जनालाई प्रदान गरिनेछ ।

 

अर्थ वाणिज्य

बालुवाटारमा इन्भेस्टमेन्ट

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंकले काठमाडौं–४, बालुवाटारमा शाखा विस्तार गरेको छ । यो शाखालाई लकर सुविधासहितको पूर्ण शाखाका रूपमा सञ्चालन गरिनेछ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीचमा शाखाको उद्घाटन गरे ।

अर्थ वाणिज्य

एनआईसीको सुपर चामत्कारिक निक्षेप

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं – एनआईसी एसिया बैंकले २२ औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चामत्कारिक बचत निक्षेप योजना सार्वजनिक गरेको छ । सबै तह र तप्काका ग्राहकहरूलाई उपयुक्त सुपर चामत्कारिक बचत खाता, सुपर चामत्कारिक नारी बचत खाता, सुपर चामत्कारिक ज्येष्ठ नागरिक बचत खाता, सुपर चामत्कारिक बाबु नानी बचत खाता, सुपर चामत्कारिक विद्यार्थी बचत खाता, सुपर चामत्कारिक स्वरोजगार बचत खाता, सुपर चामत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चामत्कारिक उद्यमशील बचत खाता, सुपर चामत्कारिक तलब बचत खाता ल्याएको हो ।

 

अर्थ वाणिज्य

रेनोको दसैं–तिहार अफर

अर्थ संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं – रेनोका लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोबाइलले दसैं–तिहार चाडपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम सञ्चालनमा ल्याएको हो । यो स्किम दसैं तथा तिहारलाई मुख्य लक्ष्य बनाएर ‘अब रेनोसँग हरेक दिन शुभ दिन’ भन्ने नारासहित सार्वजनिक गरिएको जनाइएको छ । हरेक रेनो गाडीको खरिदमा ग्राहकले ५ लाखसम्मको नगद छुटका साथ विभिन्न फाइदा पाउन सक्नेछन् । यस योजनामा ग्राहकले नगद छुट, फ्री इन्सयोरेन्स, फ्री एसेसरिज र ५ वर्षको वारेन्टी पाउनेछन् ।

Page 19
अर्थ वाणिज्य

उत्तरगंगा पावर कम्पनीविरुद्ध गाउँपालिका

भेरी करिडोरतर्फका जनप्रतिनिधि र स्थानीयले उत्तरगंगा जलाशययुक्त आयोजना बहाव फर्काएर नभई भेरी बेसिनतिरै निर्माण गर्नुपर्ने माग राखेका छन्
- हरि गौतम

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको सेरा क्षेत्र । यहाँ एक मेगावाट क्षमताको विद्युत् आयोजना बनाउने तयारी भइरहेको छ । तस्बिर : हरि/कान्तिपुर

रुकुम पूर्व - संघीय सरकारले उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको तयारी थाले पनि स्थानीयले भने विरोध चर्काएका छन् । विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगंगा पावरले नदीको बहाव फर्काएर ८ सय २८ मेगावाट विद्युत् उत्पादन क्षमताको आयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने निर्णय गरिसकेको छ ।
सरकारको निर्णय बाहिरिएपछि उत्तरगंगाको बहाव फर्काउने/ नफर्काउने बहस सुरु भएको छ । भेरी करिडोरतर्फका जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयले उत्तरगंगा जलाशययुक्त आयोजना बहाव फर्काएर नभई भेरी बेसिनतिरै निर्माण गर्नुपर्ने बताइरहेका छन् । उत्तरगंगा फर्काएर कालीगण्डकीमा खसाल्दा ठूलो बस्ती प्रभावित हुने उनीहरूको तर्क छ । उत्तरगंगा फर्काउन नहुने भन्दै उनीहरू आन्दोलन गरिरहेका छन् । उत्तरगंगा फर्काउने निर्णय आएपछि त्यसविरुद्ध विभिन्न तह तथा निकायबाट आन्दोलन भइरहेको छ । उत्तरगंगा नदीबाट एक मेगावाट विद्युत् उत्पादन निकाल्ने योजना छ ।
पुथाउत्तरगंगा गाउँपालिकाले एसियाली विकास बैंक (एडीबी) को सहयोगमा एक मेगावाट विद्युत् उत्पादन गर्ने जनाएको छ । उत्तरगंगा पावर कम्पनीले नदी कालीगण्डकीमा खसाल्ने भनेकै स्थानबाटै उक्त योजना बनाउन लागेको गाउँपालिकाले जनाएको छ । त्यसका लागि आवश्यक आधारभूत काम पूरा गरिसकेको गाउँपालिकाकी उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताइन् । ‘उत्तरगंगा फर्काउने कुरा सही छैन, यो कालीगण्डकीतर्फ पनि फर्किंदैन,’ उपाध्यक्ष मल्लले भनिन्, ‘निरन्तर बगिरहेको उत्तरगंगाबाट विद्युत् उत्पादन गर्न लागेका हौं ।’
ठूलो मानव बस्ती उजाड बनाएर उत्तरगंगा कालीगण्डकीतर्फ लैजान नदिने भन्दै विद्युत् आयोजना बनाउन लागिएको तर्क उपाध्यक्ष मल्लको छ । उत्तरगंगा नफर्काउन भनेर स्थानीय सरकार, राजनीतिक दल, जनप्रतिनिधिसमेतले ज्ञापनपत्र बुझाइसकेकाले अब संघीय सरकार उक्त निर्णयबाट पछि हट्ने र गाउँपालिकाले एक मेगावाट उत्पादन क्षमताको विद्युत् आयोजना बनाउने दाबी उनले गरेकी छन् ।
पुथाउत्तरगंगा गाउँपालिका–११, सेरामा विद्युत् उत्पादन गर्ने गरी काम अघि बढाइएको छ । आयोजना निर्माणका लागि डीपीआर तयार भइसकेकाले ठेक्का आह्वानको तयारीमा रहेको गाउँपालिकाले जनाएको छ । निर्माणका लागि गाउँपालिकाले पाँच करोड रुपैयाँ लगानी गर्ने जनाएको छ । आव ०७५/७६ मा १ करोड ५० लाख र चालु आवमा ३ करोड ५० लाख गरी पाँच करोड रुपैयाँ विनियोजन गरिसकिएको छ । आयोजना निर्माणका लागि एडीबीले २८ करोड रुपैयाँ सहयोग दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढा क्षत्रीले बताए । १ वर्ष ६ महिनामा आयोजना पूरा हुने गरी डीपीआर तयार भएको अधिकृत क्षत्रीले बताए ।
गाउँपालिकाका केही वडामा विद्युतीकरण हुन बाँकी छ । कति वडामा पहिल्यै विद्युतीकरण भइसकेको छ । कति वडामा हाल लघु जलविद्युत् निर्माणको चरणमा छन् । उक्त आयोजना निर्माणपश्चात् उत्पादित विद्युत् अन्यत्र निर्यात गर्ने गरी कार्यपालिकाबाट निर्णय भएको कार्यपालिका प्रवक्ता भीम मल्लले बताए । उत्तरगंगाको बहाव नफर्कने विश्वासका साथ अर्को योजना निर्माणको तयारी गरिएको भनाइ उनको छ । आयोजना निर्माणपश्चात् जिल्लामा विद्युत् उत्पादनको यो दोस्रो आयोजना हुनेछ ।

 

अर्थ वाणिज्य

वारि सुनसान, पारि गुलजार

सीमा बजारमा सस्तोमा सामान पाइने विश्वास र घरायसी सामान ल्याउँदा भन्सार तिर्न नपर्ने भएकाले नेपाली उपभोक्ताको सीमाका बजारमा आकर्षण बढ्दो
- कान्तिपुर संवाददाता,माधव ढुंगाना

भैरहवा - 
गाउँ टोलमा तिजको रमझम र रौनक बढे पनि भैरहवा, बुटवल, तिलोत्तमालगायत ठूला बजार सुनसान छन् । सीमावर्ती सुनौली बजारमा भने पाइला टेक्ने ठाउँ छैन । ‘तीज आएको महसुस हुन सकेको छैन,’ चार दशकदेखि भैरहवामा कपडा पसल सञ्चालन गर्दै आएका व्यवसायी ओमकार गौचनले भने, ‘तीजका लागि दैनिक करोडौंको किनमेल भइरहेको छ । तर, यहाँ होइन, सीमापारि भारतीय बजारमा ।’
सीमावर्ती भारतको सुनौली र नौतनवा बजारमा चहलपहल बढिरहेको छ । बिहानदेखि साँझसम्म तीजका लागि सामान खरिद गर्न जाने नेपाली उपभोक्ताको घुइँचो लाग्ने गरेको छ । सुनौलीका हरेक गल्ली र भित्री बजारका पसलमा हुने नेपाली उपभोक्ताको भीडले त्यहाँका व्यवसायीलाई एक छिन पनि फुर्सद छैन ।
त्यहाँ नेपाली उपभोक्तालाई सामान किनमेल गर्न पालो कुर्नुपर्ने अवस्था छ । तीज, दसैं, तिहारजस्ता चाडपर्व र विवाह, व्रतबन्धको सिजनमा त्यहाँ ग्राहकको ताँती नै लाग्छ । धेरै सामान खरिद गर्नुपर्दा ग्राहक सुनौलीबाट ९ किमिको दूरीमा रहेको नौतनवा पुग्छन् । अधिकांश भने सीमासँगै जोडिएको सुनौलीमै किनमेल गर्छन् ।
चाडपर्व र विवाह व्रतबन्धको सिजनमा भैरहवा, बुटवल र आसपास क्षेत्रका मात्र नभएर पोखरा, चितवन, लमजुङ, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी, दाङ, धादिङ, तनहुँलगायतका स्थानबाट पनि किनमेलका लागि यहाँका बजारमा पुग्ने बढेका छन् ।
साडी, कुर्ता सलवारलगायत तयारी पोसाक, खाने तेल, मरमसला, अचार, हल्का पेयपदार्थ, चिनी, साबुन, सर्फ, सेम्पु, स्टेसनरी सामान, नमकिन, बिस्कुट, काजु, किसमिस, पास्ताजस्ता फास्टफुड, शृंगारका सामान, भाँडाबर्तन र मोबाइल नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् ।
किनमेलका लागि दैनिक कति नेपाली सीमापारि पुग्छन् भन्ने आधिकारिक तथ्यांक कतै छैन । तर, चाडपर्वका बेला नेपाली उपभोक्ताको भीड र उनीहरूले प्रयोग गर्ने सवारी साधनको चापले सीमाक्षेत्रमा बारम्बार जाम हुने गर्छ ।
‘तीजका लागि किनमेल गर्न केही दिनदेखि बिहान १० बजेदेखि नै हूलका हूल नेपाली उपभोक्ता पारि जाने गरेका छन्,’ सीमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका निरीक्षक कमल बेलबासेले भने, ‘नजिकिंदो चाडपर्व र शनिबारका दिन त यात्रु आवागमन सहज पार्न छुट्टै प्रबन्ध मिलाउनुपर्ने हुन्छ ।’
किनमेलका लागि बिहान १० बजेदेखि नेपाली उपभोक्ता सुनौलीतर्फ आउने र दिउसो २ बजेदेखि फर्किन थाल्छन् । बुटवलदेखि सीमावर्ती बेलहियासम्म दैनिक साढे ४ सयभन्दा धेरै यात्रुबाहक बस चल्ने गर्छन् । सबै बसमा यात्रु खचाखच भरिएका हुन्छन् । यसबाहेक निजी जिप, कार, मोटरसाइकल, स्कुटीमा सुनौली पुग्ने उपभोक्ता पनि उत्तिकै छन् ।
सरकारी गाडीमा सामान किनमेल गर्न आउनेको संख्या पनि उत्तिकै छ । उच्च ओहोदाका कर्मचारी, जनप्रतिनिधि र सुरक्षा अधिकारीले प्रयोग गर्ने सवारी साधन पनि सामान किनमेलका लागि आउने गरेको देखिन्छ ।
‘तीजका कारण सुनौलीको व्यवसाय अहिले निकै राम्रोसँग चलेको छ,’ उद्योग व्यापार प्रतिनिधिमण्डल सुनौली भारतका अध्यक्ष बब्लु सिंहले भने, ‘सुनौली बजार नेपाली उपभोक्तामाथि नै निर्भर छ ।’ चाडपर्व र विवाह व्रतबन्धका बेलामा काठमाडौं, पोखरा, चितवनदेखि सामान किनमेल गर्न सुनौली आउने गरेको उनले सुनाए ।
उनका अनुसार सुनौलीमा सानाठूला गरेर १ हजार ५ सयको हाराहारीमा पसल सञ्चालनमा छन् । सुनौलीको ९० प्रतिशतभन्दा धेरै कारोबार नेपाली उपभोक्ताबाट हुने गरेको छ । प्रतिदिन डेढ करोडभन्दा माथिको कारोबार हुने गरेको उनले बताए ।
सस्तो मूल्यमा सामान पाइने विश्वास र घरायसी प्रयोजनका नाममा भन्सार नतिरी सामान ल्याउन पाइने कारणले नेपाली उपभोक्ताको आकर्षण सीमापारिको बजारमा बढेको छ । भैरहवा, लुम्बिनी, बुटवल क्षेत्रमा घुमफिरका लागि आउनेहरूको सपिङ गन्तव्य सुनौली बजार हुने गरेको छ । धेरै सामान नेपालमै सस्तो र गुणस्तरीय पाइने गरे पनि अधिकांश नेपाली उपभोक्ता यसप्रति जानकार छैनन् । छरछिमेकीको लहलहैमा लाग्ने, मूल्य र गुणस्तरप्रति चासो नदेखाउने नेपाली उपभोक्ताको संख्या पनि उत्तिकै छ ।
यति धेरै नेपाली उपभोक्ता सामान किनमेल गरी फर्किने गरे पनि भन्सार राजस्व भने निकै न्यून संकलन हुने गरेको छ । सबैले दैनिक घरायसी प्रयोजनका लागि सामान खरिद गरेको दाबी गर्छन् । भन्सारले व्यावसायिकबाहेक घरायसी प्रयोजनका लागि भनेर किनमेल गरेको सामान्य परिमाणमा भन्सार शुल्क लगाउँदैन ।
‘घरायसी प्रयोजनका नाममा धेरै सामान किनेर व्यावसायिक तथा व्यापारिक प्रयोग हुन सक्नेतर्फ हामी सजग नै छौं,’ भैरहवा भन्सार कार्यालय प्रमुख कमलकुमार भट्टराईले भने, ‘घरायसी प्रयोजनका नाममा अस्वाभाविक रूपमा धेरै परिमाणको सामान ल्याउँदा भन्सार राजस्व लगाउने गरेका छौं ।’
आफ्नै प्रयोजनका लागि भनेर किनेको सामान्य सामानमा भन्सार राजस्व तिराउनु व्यावहारिक नहुने तर्क गर्दै उनले कतिसम्मको सामानलाई छुट दिने भन्नेबारेमा यकिन नभएको बताए । अत्यधिक नेपाली उपभोक्ताका कारण एक/दुई वटा कपडा र दैनिक प्रयोजनका अन्य सामान किनमेल गरेर फर्किंदा पनि सामानको परिमाण भने बिनाभन्सार धेरै भित्रिने गरेको उनले बताए ।
स्वदेशी निजी व्यवसायी भने भन्सार नाकामा चेकजाँचमा कडाइ नगरिएको र घरायसी सामानका नाममा धेरै परिमाणको सामान ल्याउन छुट दिइनुले सीमापारिको बजार गुलजार हुने गरेको तर्क गर्छन् । हाल सीमा नियन्त्रणका लागि परिचालन गरिएको सुरक्षा संयन्त्र तथा जनशक्ति पर्याप्त नभएको र सानो संख्याको प्रहरी र भन्सारले मात्र सिमानाबाट हुने अवैध कारोबार नियन्त्रण सम्भव नहुने दाबी व्यवसायीको छ ।
नियन्त्रणका लागि अलग्गै ठोस नीति राज्यले नै अवलम्बन गर्नुपर्ने उनीहरूले बताए । यात्रु तथा सामान्य उपभोक्ताको सहुलियतका लागि सरकारले भन्सार नाकामा लागू गरेको संक्षिप्त प्रज्ञापनपत्र कार्यान्वयनमा नआउँदा नेपाली उपभोक्ता सीमापारिको बजारमा जाने प्रवृत्ति मौलाउँदै गएको व्यापारी गौचनले दाबी गरे ।
सामान्यतया यात्रुले घरायसी प्रयोजनका लागि एक हजार रुपैयाँसम्मको सामान किनमेल गरेर फर्किन मिल्ने र त्यसभन्दा माथिको सामान किनेमा यात्रुले संक्षिप्त भन्सार प्रज्ञापनपत्र भरेर राजस्व तिर्नुपर्ने प्रावधान छ । ‘भन्सार नाकामा संक्षिप्त प्रज्ञापनपत्र कार्यान्वयनमा आउन सकेन र चेकजाँच पनि प्रभावकारी हुन सकेन,’ सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका गौचनले भने, ‘उपभोक्ता नभएर नेपाली बजार सुक्दै जान थाले, नेपाली उपभोक्ताले सीमापारिको बजार फस्टाउँदै जान थाले ।’

अर्थ वाणिज्य

बाढीले धान, कीराले मकै सखाप

- कान्तिपुर संवाददाता

सिन्धुली - सुनकोसी गाउँपालिका ५ नांगेडाँडाका किसान प्रेमबहादुर गिरी बारीमा बसेर टोलाइरहन्छन् । उमेरले ८० पुगेका उनी मकैबाली कीराले सखाप पारेपछि निराश भएका हुन् । खडेरीका कारण ढिलो लगाएको मकैबाली गोड्ने बेलामा कीराले बोट नै नास गरिदिएपछि वर्ष दिन खाने अन्न यसपालि घर भित्रिने छाँट उनले देखेका छैनन् ।
बारीमा दुःख गरेर लगाएको मकै गोड्नसमेत नपाई सबै कीराले नष्ट गरेको छ । ८ रोपनीमा लगाएको मकै कीराले सोत्तर बनाएको उनले बताए । ‘यतिखेर मकै गोड्ने समय हो, के गर्नु कीराले केही राखेन,’ उनले भने । मकैका सबै बोटको पातसमेत कीराले खाएको छ । ‘यस्तो कहिल्यै थाहा थिएन, कीरा यसपालिबाट लाग्यो,’ उनले भने, ‘कीरा हटाउन सकिएन । मकैको फेदैसमेत खाएको छ ।’
बारीबाट उब्जनी भएको मकै र बेंसीमा लगाएको खेतबाट उब्जनी भएको धानबाट गिरीको परिवारलाई वर्ष दिन मुस्किलले खान पुग्थ्यो । असार अन्तिमदेखि परेको अविरल वर्षापछि आएको बाढीले बेंसीमा लगाएको धानखेत पुरिदिएको छ । खोलामा आएको बाढीले धान खेत पुर्‍यो, बारीको मकै कीराले सखाप बनाएपछि उनलाई अनिकाल पर्ने डर छ । ‘खेतको धानमा बाढी लाग्यो, बारीको मकैमा कीरा, अब केले वर्षदिन धान्नु,’ उनले भने ।
नांगेडाँडाकै अर्का किसान रेवतीप्रसाद दाहाल घरीघरी मकैमा लागेको कीरा हटाउन सकिन्छ भनेर बारीमा छिरेर बोटलाई हल्लाइरहन्छन् । कीराले खाएर आधा पारिसकेको मकैको बोटमा लागेको कीरा हट्नु त परै जाओस् सबै बोटमा भेटिएपछि उनी दिक्क छन् । ‘एउटा, दुइटा कीरा भए पो हटाऊँ भन्नु, लाखौं लाख कीरा छन्, कसरी हटाउनु ?’ उनले भने, ‘खडेरीले गर्दा मकै छर्नै ढिलो भयो, अहिले आएर कीराले सखाप बनाएको छ ।’ मकैमा लागेको अमेरिकन फौजी कीरा भएको उनले सुनेका छन् ।
सुनकोसी गाउँपालिकाको अमारे, गौखर्क, चैनपुर, रामटार, बोहोरेटार, दुम्जा, खाल्टे, गोलन्जोर गाउँपालिकाको महाभारत क्षेत्र र फिक्कल गाउँपालिकामा समेत अमेरिकन फौजी कीराले मकैबाली नष्ट गरेको छ ।नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कीट विज्ञान महाशाखाको टोली भर्खरै स्थलगत अध्ययन गरी फर्किएको छ । टोलीले मकैमा लागेको अमेरिकन फौजी किरा नै भएको यकिन गरेको स्थानीय सञ्चारकर्मी मीनकुमार दाहालले बताए । यो किराले मकैको गुवादेखि पातसम्म सबै खाने महाशाखाको टोलीले बताएको छ ।

Page 20
अर्थ वाणिज्य

थपिँदै बैंक वित्तीय संस्था

- माधव अर्याल

पाल्पा - जिल्लामा बैंक तथा वित्तीय संस्था थपिएको थपियै छन् । आइतबार मात्र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले तिनाउ मिसन डेभलपमेन्ट बैंकको शाखा, नेपाल बैंक लिमिटेडको छहरा शाखा, नेपाल बैंककै युनाइटेड मिसन अस्पतालमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । योसँगै जिल्लामा ४८ भन्दा बढी स्थानमा बैंक तथा वित्तीय संस्थाले कारोबार गरेका छन् । सबै १० तहमै बैंकबाट सेवा पुगेको छ । तानसेन, रामपुर, छहरा, ताहुँमा थपिने क्रम जारी छ ।
राष्ट्र बैंकका गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाहरू विकास निर्माणका संवाहक भएको बताए । उनले बैंकहरूले उत्पादन बढाउने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । तानसेनमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंक लिमिटेडबाहेक पनि २३ वटा निजी क्षेत्रका बैंकले शाखा खोलेका छन् । विकास बैंक पनि छन् । दर्जनभन्दा बढी सहकारीले पनि बैंकले जस्तै कारोबार गर्छन् ।
तानसेनमा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले धमाधम शाखा विस्तार गरेका छन् । अझै बैंक थपिने क्रम जारी छ । कतिपयले अध्ययन गरेर फर्केका छन् । राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकले सेवा दिइरहेको तानसेनमा २०६५ सालमा निजी क्षेत्रका वाणिज्य बैंकको प्रवेश भएको हो । त्यसबेलामा तत्कालीन उवासंघका अध्यक्ष भूषणध्वज राजलवटले निजी बैंक तानसेनमा ल्याउन पहल गरेका हुन् । उनले नेपाल इन्भेस्टमेन्ट बैंक संघकै भवनमा ल्याएर राखेका हुन् । प्रक्रिया अघि बढदा बढदै पहिलो पटक भने हिमालयन बैंकले शाखा विस्तार गर्न सफल भएको हो । ‘हामीले तयारी गर्दागर्दै हिमालयनले पहिला शाखा विस्तार गरेको हो,’ नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा प्रबन्धक बाबुराम कँडेलले भने, ‘जे होस् १० वर्षदेखि नै बैंक तथा वित्तीय संस्थाका विषयमा बुझ्ने मौका मिलेको छ ।’
२०६५ अघिसम्म तानसेनमा एउटा भए पनि निजी बैंक चाहियो भन्दै उद्योग वाणिज्य संघका पदाधिकारी अनुरोधका लागि दौडधुप गर्थे । १० वर्षको अन्तरालमा बैंक तथा वित्तीय संस्था प्रवेशको लहड नै चल्यो । ‘अहिले बैंकको जिल्लामा शाखा विस्तार नगरी उपत्यकामा खोल्न नपाइने भएर पनि बढी शाखा बाहिर आएका होलान्जस्तो लाग्छ,’ उवासंघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले भने, ‘त्यो पनि एउटा कारण हुन सक्छ ।’ उद्योगी तथा व्यापारीले व्यापार व्यवसाय सञ्चालन गर्न समस्या भएपछि निजी बैंकका लागि माग गर्न काठमाडौं धाउने अवस्थामा अहिले ठूलो परिवर्तन आएको उनले बताए ।
‘बैंक आएनन् भन्दाभन्दै अहिले जतासुकै बैंक नै बैंक भइसकेका छन्,’ उनले भने, ‘अझ कति आउने हुन् भन्ने अवस्था आइसकेको छ ।’ विगतमा तानसेनमा सेवा दिने पश्चिमाञ्चल फाइनान्स लिमिटेड कुमारी बैंक भइसकेको छ । पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगामा परिवर्तन भइसक्यो । हिमालयन, इन्भेस्टमेन्ट हुँदै एसबीआई बैंकले शाखा खोलेका थिए । किस्ट बैंक अहिले प्रभु बैंक भयो । बैंकको संख्या बढिरहँदा ग्राहक र सेवाग्राही भने द्रुततर गतिमा बढ्न सकेका छैनन् । इन्भेस्टमेन्ट बैंकका मात्रै झन्डै १४ हजार ग्राहक रहेको प्रबन्धक कँडेलले बताए । तर, उनको कर्जा लिने सेवाग्राही भने ४ सय मात्र छन् । ‘बैंक तथा वित्तीय संस्थालाई काम गर्न त्यति सहज भने छैन,’ उनले भने, ‘जति धेरै बैंक तथा वित्तीय संस्था थपियो, उति धेरै बैंकका कर्मचारीले दुःख पाउने अवस्था भएको छ ।’ १० वर्षअघि खुलेको र अहिले खोल्नेलाई त्यसै पनि सहज नहुने उनले बताए । ‘उद्योगधन्दा नभएकाले यहाँ लगानी निकै कम छ,’ उनले भने, ‘लगानी गर्नेभन्दा पनि निक्षेप संकलन गर्ने स्थान बनेको छ ।’ घर निर्माण, व्यापार कर्जामा बढी रकम जाने गरेको उनले बताए ।
तानसेन बजारका सेवाग्राही कुनै न कुनै बैंकमा आबद्ध भइसकेका छन् । पुरानो बैंकभन्दा नयाँ बैंकले के सुविधा दिन सक्छ भन्ने सेवाग्राहीले खोज्छन् । जनता बैंकको जिल्लामा पाँच स्थानमा शाखा खोलिसकेको छ । सरकारी नेपाल बैंक, रावाबैंकका पनि गाउँमा शाखा छन् । मेघा बैंकको तानसेन र रामपुर शाखा छ । अहिले बैंकको ऋण लगानीमा ध्यान छैन ।
नगरोन्मुख रामपुरमा पनि लगानी गर्नेछन् । अहिले रामपुरमा पनि आधा दर्जन बैंक छन् । त्यहीका सहकारीले बैंकले जस्तै लगानी गर्छन् । ‘तानसेनको बजार क्षेत्र पहिलाभन्दा धेरै साँघुरिएको छ,’ व्यापारी यादवसिंह कार्कीले भने, ‘पहिलाजस्तो अहिले व्यापार पनि छैन र लगानी गर्न पनि चाहँदैनन् ।’ उनका अनुसार तानसेनको बजारक्षेत्र खुम्चिएको छ । गाउँगाउँमा बजार फैलिएको छ ।

अर्थ वाणिज्य

जहाजमा ज्येष्ठ नागरिकलाई छुट

- सुरज कुँवर

काठमाडौं - निजी क्षेत्रका वायुसेवा कम्पनी सहमत भएमा तीन महिनापछि ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोमबार एकवर्षे कार्यक्रम सार्वजनिक गर्दै नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई यसबारे टुंगो लगाउन भनेका छन् । आफ्नो कार्यकालमा पूरा गर्ने गरी १ सय ४१ वटा कार्ययोजना सार्वजनिक गरेका उनले आन्तरिक उडानमा यात्रु बिमांक रकम वृद्धिको विषय पनि उल्लेख गरेका छन् । ‘नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको बिमासम्बन्धी व्यवस्था गर्ने गरी कानुनको व्यवस्था गर्ने,’ भट्टराईले सार्वजनिक गरेको कार्ययोजनामा भनिएको छ । मन्त्रालयले ४ महिनामा कानुनको मस्यौदा बनाई मन्त्रिपरिषद्मा पेस गर्ने उल्लेख गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालनमा ल्याइने जनाउँदै उनले नेपाली वायुसेवा कम्पनीलाई युरोपियन युनियनले आफ्ना सदस्य मुलुकमा लगाएको प्रतिबन्ध हटाउन पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ६ महिनाभित्र यो काम सक्ने उनको योजना छ ।

‘विमानस्थल एप्रोन’ क्षेत्रमा गाडी निषेध
विमानस्थलको ‘एप्रोन क्षेत्र’मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशका गाडीबाहेकलाई प्रवेश गर्न दिइनेछैन । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई १५ दिनभित्र यसबारे कार्ययोजना बनाई लागू गर्न भनिएको छ । विमानस्थलमा हुने भीआईपी आवागमनबारे पनि २ महिनाभित्र नयाँ मापदण्ड बनाइसक्न निर्देशन दिइएको छ । विमानस्थलभित्र सञ्चालित पसलले खानेकुरा र पेयपदार्थको मूल्य मनपरी राख्न नपाउने भएका छन् । यात्रुहरूले चर्को मूल्य तिर्नुपरेको गुनासो गरेकाले यसबारे सुझाव दिन कार्यदल गठन गरिँदै छ । कार्यदलले प्रतिवेदन बुझाएपछि सोहीअनुसार मूल्यमा एकरूपता दिने तयारी छ ।
विदेशबाट फर्केका यात्रुलाई ३० मिनेटभित्र ब्यागेज उपलब्ध गराइने व्यवस्था गरिँदै छ । त्यसका लागि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई ब्यागेज उपलब्धतामा ढिलाइ नगर्न मन्त्री भट्टराईले निर्देशन दिएका छन् । विमानस्थलका महाप्रबन्धक क्षेत्रीलाई पनि आन्तरिक टर्मिनल भवनमा पनि ब्यागेज बेल्ट जडान गर्ने व्यवस्था मिलाउन उनले भनेका छन् । यात्रु आउने र शव ल्याउने बाटो एउटै भएकाले मृतकका आफन्तका लागि छुट्टै प्रतीक्षालय र बाटो बनाउन पनि भट्टराईले निर्देशन दिएका छन् ।
विमानस्थलबाट सञ्चालन हुने ट्याक्सीको एकाधिकार तोड्न सार्वजनिक र पर्यटक बसलाई पनि भित्रैसम्म पहुँच दिने व्यवस्था गरिँदै छ । यसबारे अध्ययन गर्न नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीसहित तीनवटा निकायलाई तीन महिनाको समयसीमा दिइएको छ । भम्रण वर्षअघि नै विमानस्थलसँग जोडिएको तीनकुनेदेखि गौशालासम्मको सडकको सौन्दर्यीकरण गरिनेछ । विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारण हटाउने विषय पनि मन्त्रीले कार्ययोजनामा समेटेका छन् । इन्धन भण्डारणलाई भूमिगत गर्न आवश्यक जमिन विमानस्थलले प्रबन्ध गरिदिने मन्त्रीको कार्ययोजनामा उल्लेख छ ।मन्त्री भट्टराईले निगमका कार्यकारी अध्यक्ष खरेललाई ३ महिनाभित्र सबै विमान उडानमा ल्याउन भनेका छन् । तीन महिनाभित्रै निगमको वाइडबडी विमानको रियाद र गोन्जाउमा पनि उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ । कार्ययोजनामा निगमलाई सबै टिकट बिक्री प्रणालीलाई अनलाइनमा पनि लगेर यात्रुलाई उडानबारेका सूचना एसएमएस, इमेल अथवा टेलिफोनबाट उपलब्ध गराउन आग्रह गरिएको छ ।
मन्त्री भट्टराईले पशुपतिमा पूजा गर्न चाहने अशक्त तथा वृद्धवृद्धालाई चारै ढोकामा पुर्‍याउन तीन महिनाभित्र पूर्वाधार र हिवलचेयर राखिने भनेका छन् । पशुपतिनाथबारे एप बनाई ६ महिनाभित्र ई–पूजा गराउने योजना पनि उनको छ ।

अर्थ वाणिज्य

केन्द्रमै थन्किए प्रदेशका सिफारिस

विकासमा बाधा
- प्रतीक्षा काफ्ले

गण्डकी - गण्डकी सरकारले चीनसँगको कोरला र भारतसँगको त्रिवेणी नाका स्तरोन्नतिसँगै सञ्चालन गर्न संघीय सरकारसँग माग गरेको एक वर्ष नाघिसक्यो । प्रादेशिक संरचना व्यवस्थापनका लागि प्रस्तावित जग्गाको स्वामित्व, दुम्कीबास–त्रिवेणीधाम फास्ट ट्र्याकको अनुमति र पूर्वी नवलपरासीलाई नवलपुर नामकरण माग्दै पत्राचार गरेको छ । यी कुनै सिफारिस र अनुरोधपत्र अहिलेसम्म संघीय सरकारले टुंगो लगाइदिएको छैन । प्रदेश सरकारले पठाएका २ दर्जनभन्दा बढी सिफारिस र अनुरोध केन्द्रमा चाङ लागेर बसेका छन् । केन्द्रले समयमै आवश्यक कानुन नबनाउँदा काम गर्न नपाएको प्रदेश सरकारको गुनासो छ । यसले काममा थप समस्या भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता झलकराम सुवेदीले बताए । ‘हामी माग गरिरहन्छौं तर संघीय सरकारले सुनुवाइ गरेको छैन,’ उनले भने ।
मुख्यमन्त्री, मन्त्री र प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्षसम्मले बहुसांस्कृतिक ग्राम, उच्च पहाडी खेल तालिम केन्द्र, गल्फकोर्स, क्रिकेट मैदानलगायत कार्यक्रममा जग्गा प्राप्त गर्न नसकिएको गुनासो गर्दै आएका छन् । केन्द्रबाट निर्णय नआएपछि आफ्नै ढंगले काम गर्ने प्रदेशकोतयारी छ ।
सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले निर्णय गरेर संघमा पठाए पनि कुनै जवाफ नआएको बताए । ‘हामीले गरेका पत्राचार सिंहदरबारतिरै हराएछन् कि ?’ उनले भने, ‘पठाउने काम मात्र भएको छ । उताबाट केही आएको छैन ।’ संघीय सरकारले कानुन नबनाएको मात्र होइन, सामान्य निर्णयबाटै हुने काममा पनि ढिलाइ गरेको बस्नेतले बताए ।
पोखरा–त्रिवेणी सडकखण्डको चितवन राष्ट्रिय निकुञ्ज, त्यसको मध्यवर्ती क्षेत्र (बफरजोन) र कोरला–पोखरा–दुम्कीबासमा सडक निर्माणको जिम्मा दिन प्रदेश सरकारले माग गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पनि प्रदेशलाई दिन अनुरोध गरिएको छ । अहिले प्रदेश मन्त्रालय र निकायले प्रयोग गर्दै आएको जग्गा र भवन प्रदेश सरकारकै नाममा दिन भनिएको छ । औषधि व्यवस्था कार्यालय स्थापना, गोरखा दरबार, मनकामना मन्दिर र गोरखा संग्रहालय व्यवस्थापन पनि प्रदेशले मागेको छ । संघले केही स्थानीय तहको नाम परिवर्तन, केन्द्र र सिमाना परिवर्तन गरे पनि महत्त्वपूर्ण विषयमा केही निर्णय लिएको छैन ।
प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले प्रदेशले गरेका सिफारिसमा छिटो निर्णय गरेर पठाइदिए काममा सहजता पुग्ने बताए । ‘अहिलेसम्म स्वीकृत भएर केही पनि नआएकाले जग्गाको विषयमा लिजको प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भने ।

अर्थ वाणिज्य

जुम्ली स्याउ टिप्न भ्याइनभ्याई

- एलपी देवकोटा
जुम्लामा स्याउ प्याकिङ गर्दै व्यापारी । तस्बिर : एलपी/ कान्तिपुर

जुम्ला - पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैंचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई छ । चन्दननाथ १० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिन्छिन् । उनीहरू दुवैको स्याउ बारीमा करिव १ सय ५० स्याउका बोट छन् ।
उनीहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त देखिन्छन् । टिप्न सुरु भएसँगै व्यापारी स्याउ बगैंचामै आएर खरिद गर्ने क्रम बढेको छ ।
स्याउ खरिद गर्न नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायत स्थानका व्यापारी जुम्ला आएका छन् । भदौको दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानी गर्न स्थानीय तहले अनुमति दिए पनि केही किसानले पहिले नै बगैचा खाली गरिसकेका छन् । ढिलो टिपे स्याउ बिक्री नहुने समस्याले धमाधम बगैंचा खाली हुन थालेका हुन् ।
यस वर्ष जुम्लामा ६ हजार १ सय मेट्रिक टन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्रको छ । जिल्लाको स्याउ उत्पादनबारे प्राविधिकले तथ्यांक संकलन गरिहेको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ बालकराम देवकोटाले वताए । ‘भर्खर टिप्न सुरु भएको छ,’ उनले भने, ‘गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि बढेको हाम्रो अनुमान छ ।’
देवकोटाले स्याउको बजार वर्सेनि बढिरहेको बताइन् । ‘केही वर्षअघिसम्म स्याउ बिक्री गर्न खलंगा बजारमा लैजानुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘यस वर्ष व्यापारी बगैंचामै पुगेर धमाधम स्याउ खरिद गरिरहेका छन् ।’ उनले बारीमा भएका सबै स्याउ बिक्री गरिसकेको बताइन् । ८ वर्षअघि साविक जिल्ला विकास समितिको १५ औं जिल्ला परिषद्ले जुम्लालाई प्रांगारिक जिल्ला घोषणा गरेको थियो । जुम्लाले ०६६ सालमा नेपाल अर्गानिक प्रमाणीकरण मान्यता पाएपछि स्याउ जिल्लाबाहिर जाने क्रम बढेको हो । स्याउको बजार जुम्लामा भन्दा पनि जिल्ला बाहिर भएकाले ढुवानीमा समस्या हुने गरेको स्याउ व्यापारी बताउँछन् । जुम्लाको स्याउको माग काठमाडौंलगायत ठूला सहरमा बढी छ ।
स्तरीय कार्टुन नहुँदा स्याउ प्याकेजिङमा समस्या भएको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ देवकोटा बताउँछन् । ‘जिल्लामा स्याउ भण्डारको व्यवस्थासमेत नहुँदा किसान समस्यामा परेका छन्,’ उनले भने, ‘केही किसानले आफैं स्याउ जिल्लाबाहिर बिक्रीका लागि लैजाने गरेका छन् ।’ उनका अनुसार बजारको मागभन्दा धेरै स्याउ एकै पटक जाने भएकाले राम्रो भाउ नपाएको उनको भनाइ छ । केन्द्रका अनुसार जुम्लामा ३ हजार १ सय हेक्टरमा स्याउ खेती गरिएकोमा ८ सय हेक्टरमा मात्रै स्याउ फलेको छ ।

 

Page 21
खेलकुद

४ महिनामा १९ प्रतियोगिता

प्रशिक्षक भन्छन्– ‘२०–२५ जनाले खेलेरमात्रै देशको फुटबल माथि जाँदैन । फुटबलको स्तर वृद्धि र विकासका लागि देशभर हजारौं खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्छ । त्यसको लागि लामो अवधिको लिग नियमित हुनुपर्छ ।’
- राजु घिसिङ

काठमाडौं - सुरुका २३ वर्षमा तीन प्रतियोगितामै सीमित नेपाली राष्ट्रिय महिला फुटबल पछिल्लो दशक निकै व्यस्त बनेको छ । टोलीले नौ वर्षयता नौ प्रतियोगिता खेल्यो । मैत्रीपूर्ण खेलहरू थपिए । यो वर्ष (सन् २०१९) मात्रै महिला टिमले तीन प्रतियोगिता खेलिसकेको छ । थप दुई प्रतियोगिता यसै वर्ष खेल्दैछ । सन् १९८६ को एसियन कपमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको महिला टिम सबैभन्दा बढी व्यस्त भएको यसैपालि हो ।
नेपालको महिला टिम मात्र होइन, पुरुष टिम पनि उत्तिकै व्यस्त छ । विश्वकप २०२२ छनोटको अन्तिम तयारीमा अभ्यासको लागि मलेसियन लिग सुपर लिग च्याम्पियन जोहर दारुल ता’जिमविरुद्ध सोमबार प्रतिस्पर्धा गरेको राष्ट्रिय टिम र उमेर समूहको गरी नेपाली पुरुष टिमले चार महिनाभित्र सात वटा प्रतियोगिता खेल्दै छ । राष्ट्रिय टिम एसियन कप २०२३ छनोटको रूपमा पनि रहेको विश्वकप छनोटमै केन्द्रित छ । यू–१५/१६, यू–१८/१९ र यू–२३ टिम पनि मैदानमा ओर्लंदै छन् । यस व्यस्त तालिकाको पहिलो प्रतियोगिता हो, साफ यू–१६ च्याम्पियनसिप ।
साफ यू–१५ च्याम्पियनसिपमा दुईपल्ट फाइनल पुगेर पनि उपाधिविमुख भएको नेपाली टिमलाई दक्षिण एसियाली स्तरको उमेर समूहको फुटबल प्रतियोगितामा बलियै मानिन्छ । तर, वेस्ट बंगालस्थित कल्याणी रंगशालामा भइरहेको चौथो यू–१५ साफ च्याम्पियनसिपको पहिलो खेलमै ठूलो झट्का बेहोर्‍यो । घरेलु टिम भारतविरुद्ध ५–० ले हार्‍यो, जुन नेपालका लागि लज्जास्पद नतिजा हो । पाँच देश सहभागी च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएर उपाधि आशा कायमै राखेको नेपालले डिफेन्डिङ च्याम्पियन बंगलादेशविरुद्ध मंगलबार र भुटानविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्दै छ । राउन्ड रोबिन लिगकममा शीर्ष दुईमा रहने टिमले उपाधिको लागि खेल्नेछन् ।
एएफसी यू–१६ च्याम्पियनसिपको तयारी पनि हो, साफ यू–१५ । प्रशिक्षक सुनील श्रेष्ठले सम्हालेको यस टिमकै खेलाडीले एएफसी छनोट खेल्नेछन्, जुन १४–२२ सेप्टेम्बरमा जोर्डनको जार्कामा हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपाली युवा टिमले आयोजक जोर्डनसँगै ताजकिस्तान, श्रीलंका र कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यो उमेर समूहमा नेपालले चौथोपल्ट एसियाली च्याम्पियनसिपमा छनोट हुने प्र्रयास गर्नेछ ।
साफ यू–१८ च्याम्पियनसिपको तेस्रो संस्करण नेपालले आयोजना गर्दै छ । हल्चोक मैदानमा २०–२९ सेप्टेम्बरमा हुने च्याम्पियनसिपमा नेपाली युवा टिमले उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यसाथ तयारी गरिरहेको छ । पाकिस्तानबाहेक दक्षिण एसियाका सबै (६) देश सहभागी साफ य–१८ मा नेपालले समूह चरणमा भुटान र माल्दिभ्सविरुद्ध खेल्ने । र, यो प्रतियोगिता पनि एएफसी यू–१९ च्याम्पियनसिप छनोटको तयारी हो । एएफसी यू–१९ को छनोट नोभेम्बरमा इरानमा हुँदै छ । त्यसमा नेपालले इरानसँगै यूएई र किर्गिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले छनोट पार गरेर सन् २००४ मामात्रै यू–१९ को महादेशीय प्रतियोगिता खेलेको छ । त्यो सफलता एन्फा एकेडेमीको पहिलो ब्याचले दिलाएको थियो ।
नेपालले एएफसी फुटसल च्याम्पियनसिपको छनोट दोस्रोपल्ट खेल्न लागेको हो । अक्टोबरमा इरानमा हुने छनोटमा नेपालले आयोजकसँगै उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानविरुद्ध खेल्नेछ । त्यसका लागि पाँच दिने खुला छनोटमार्फत् ३७ खेलाडी चयन गरेर नियमित प्रशिक्षण गरिरहेको छ । नेपालले डिसेम्बरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दैछ र यसको डिफेन्डिङ च्याम्पियन हो नेपाली टिम । सिनियर तीनलाई समावेश गरेर यू–२३ टिमले प्रतिस्पर्धा गर्ने सागमा यसपालि पनि नेपाल स्वाभाविक रूपमै स्वर्णको दाबेदार हो ।

महिलामा अवसर
सागमा पुरुष टिम यू–२३ हुने भए पनि महिलातर्फ भने राष्ट्रिय टिम नै मैदानमा ओर्लनेछ । त्यसैले १३ औं सागलाई महिला र पुरुषको प्रतिस्पर्धाको रूपमा बेग्लाबेग्लै हेर्ने हो भने चार महिनाभित्र नेपाली टिमले १० प्रतियोगिता खेल्दै छ । महिलातर्फ नेपाल पछिल्ला दुवै संस्करणको रजत पदक विजेता हो । घरेलु भूमिमा स्वर्ण जित्ने लक्ष्यसाथ तयारी भइरहेको महिला टिमका मुख्य प्रशिक्षक हरि खड्काले बताए ।
महिला टिमले अर्को सातादेखि किर्गिस्तानको काराकोलमा हुने नाडेज्दा कप पनि खेल्दै छ, जुन १३ औं सागको तयारीको रूपमा रहेको छ । नाडेज्दा कपमा उज्वेकिस्तान, ताजकिस्तान, नेपाल र किर्गिस्तानले प्रतिस्पर्धा गर्दैछन् । ‘१३ औं सागअघि हामीभन्दा राम्रो टिमविरुद्ध खेल्न पाउनु महत्त्वपूर्ण हो । यसले हाम्रो कमी–कमजोरी पहिचान गरी त्यसलाई सागमा सच्याउन सहयोग पुग्ने छ,’ प्रशिक्षक खड्काले भने । महिलातर्फ उमेर समूहमा यू–१५ टिमले मात्रै यात्रा गर्दै छ । उसले भुटानमा सेप्टेम्बर दोस्रो साता थिम्पुमा हुने साफ यू–१५ महिला च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्दैछ । यसको लागि एन्फाले ४२ खेलाडी छनोट गर्दै तयारी थालेको छ ।

विश्वकप छनोटमा नजर
चार महिनाभित्रका दस प्रतियोगितामध्ये सबैको ध्यान खिचेको छ विश्वकप छनोटले । नेपालले ५ सेप्टेम्बरमा कुवेतविरुद्ध जाबेर अल अहमद रंगशालामा प्रतिस्पर्धा गर्दै छनोट यात्रा सुरु गर्नेछ । नेपालले त्यसको पाँच दिनपछि नै कुवेत सिटीबाट ताइपेई नगर रंगशालामा पुगेर चाइनिज ताइपेईको सामना गर्नेछ । नेपालले सन् २०२० जुनसम्म हुने छनोटमा नेपालले अस्ट्रेलिया, जोर्डन, कुवेत र ताइपेई, ‘होम एन्ड अवे’ को आधारमा प्रतिस्पर्धा गनेछ । यसमा ‘अन्डरडग’ को रूपमा रहेको नेपालले समूहको अन्तिम स्थानभन्दा माथि उक्लँदै एसियन कप २०२३ छनोटको अर्को चरणमा प्रवेश गर्ने प्रयास गर्नेछ ।

एक वर्षमा १४ प्रतियोगिता
चार महिनाभित्र हुने/भइरहेका १० प्रतियोगितालाई पनि जोड्दा नेपाली टिमले सन् २०१९ मा समग्रमा १५ प्रतियोगिता (१३ औं सागमा महिला र पुरुष फुटबललाई दुई प्रतियोगिता मानिएको) खेल्दै छ । यसमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबले खेलेको एएफसी कप २०१९ लाई पनि समावेश गरिएको छ, जहाँ मनाङ जितविहिन (२ बराबर, ४ हार) सँगै समूह चरणबाट बाहिरिएको थियो । योहान कालिन नेतृत्वको राष्ट्रिय टिमले खेलेका चार मैत्रीपूर्ण खेल अलग पाटो हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलोपल्ट साफ महिला च्याम्पियनसिप आयोजना गरेको यसै बर्ष हो । विराटनगरमा भएको च्याम्पियनसिपमा नेपाली टिम फेरि फाइनल पुगेर रोकियो । नेपाललै उही पुरानै प्रतिद्वन्द्वी भारतले सिकार बनाएर लगातार पाँचौंपल्ट ट्रफी कब्जा गर्‍यो । महिला टिमले ओलम्पिक छनोटमा पहिालेपल्ट सहभागी हुँदै ऐतिहासिक दोस्रो चरण यात्रा पनि सन् २०१९ मै गर्‍यो । भारतविरुद्ध ऐतिहासिक जितसहित हिरो वुमेन्स गोल्डकप (भुवनेश्वर) मा उपविजेता भयो । युवा टिमले एएफसी यू–१९ महिला च्याम्पियनसिपको छनोटको दोस्रो चरण पनि यसैपालि खेल्यो ।
एसियाली फुटबल महासंघ (एएफसी) ले जोर वर्षमा महिला र विजोर वर्षमा पुरुषको उमेर समूहको महादेशीय च्याम्पियनसिपको छनोट आयोजना गर्ने चलन छ । त्यसैले सन् २०१९ मा पुरुष टिमको प्रतियोगिता बढी देखिएको हो । सन् २०१८ मा महिला टिमका प्रतियोगिताको बाहुल्य रहेको थियो । गत वर्ष नेपाली टिमले खेलेका नौ प्रतियोगितामध्ये ओलम्पिक छनोट (पहिलो चरण), एएफसी यू–१९ च्याम्पियनसिप छनोट (पहिलो चरण), साफ यू–१८ च्याम्पियनसिप, साफ यू–१५ च्याम्पियनसिपमा महिला टिम भिडेका थिए । पुरुष टिमले एसियन कप छनोट, साफ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप, एसियन गेम्स (यू २३), साफ यू–१५ च्याम्पियनसिप खेलेको थियो । ‘नेपाली टिमले सबैभन्दा धेरै प्रतियोगिता खेलेको यसैपालि हो,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘हाम्रो स्तर वृृद्धिको लागि धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका छौं । थुप्रै मैत्रीपूर्ण खेल र आमन्त्रण प्रतियोगितामा पनि निमन्त्रणा आइरहेका छन्, त्यस्ता प्रतिस्पर्धामा स्तर हेरेरमात्रै सहभागी हुनेछौं ।’ प्रतियोगिता बढेसँगै खर्च बढेको छ । केही प्रतियोगिताको खर्च अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले उपलब्ध गराउने र केहीमा एन्फा आफैंले बेहोर्नुपर्ने तुलाधरले बताए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा बढ्दो सहभागिताले मात्रै नेपाली फुटबलको विकास नहुने प्रशिक्षक मेघराज केसीले बताए । ‘उमेर समूहदेखि राष्ट्रिय टिमले धेरै खेलिरहेको छ । त्यसमा विचार गर्नुपर्ने घरेलु फुटबल के भइरहेको छ भन्ने हो,’ हाल थ्रीस्टार क्लब सम्हालिरहेका प्रशिक्षक केसीले भने, ‘ती २०–२५ जनाले खेलेरमात्रै देशको फुटबल माथि जाँदैन । स्तर वृद्धि र विकासका लागि देशभर हजारौं खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्छ । त्यसका लािग लामो अवधिको लिग नियमित हुनुपर्छ ।’

 

नेपाली टिमले चार महिनाभित्र खेल्ने प्रतियोगिता
पुरुष टिम
साफ यू–१५ च्याम्पियनसिप
२१–३१ अगस्ट, २०१९/वेस्ट बंगाल
विश्वकप २०२२ छनोट
५ सेप्टेम्बर, २०१९–४ जुन, २०२०
एएफसी यू–१६ च्याम्पियनसिप छनोट
१४–२२ सेप्टेम्बर, २०१९/जोर्डन
साफ यू–१८ च्याम्पियनसिप
२०–२९ सेप्टेम्बर, २०१९/काठमाडौं
एएफसी फुटसल च्याम्पियनसिप छनोट
२३–२५ अक्टोबर, २०१९/इरान
एएफसी यू–१९ च्याम्पियनसिप छनोट
६–१० नोभेम्बर, २०१९/इरान
१३ औं दक्षिण एसियाली खेलकुद (यू–२३)
१–१० डिसेम्बर, २०१९/काठमाडौं

महिला टिम
साफ यू–१५ महिला च्याम्पियनसिप
९–१५ सेप्टेम्बर, २०१९/भुटान

नाडेज्दा कप
६–१३ सेप्टेम्बर, २०१९/किर्गिस्तान
१३ औं दक्षिण एसियाली खेलकुद
१–१० डिसेम्बर, २०१९/पोखरा

Page 22
खेलकुद

नेपाली टिम पराजित

- कान्तिपुर संवाददाता
मलेसियामा सोमबार भएको मैत्रीपूर्ण खेलमा नेपालका दिेनेश राजवंशीलाई तान्दै जोहर दारुल ता’जिमका निकोलस अल्बर्टो फर्नान्डेज (१०) । फर्नान्डेजकै गोलमा नेपाल पराजित भयो ।

काठमाडौ – नेपाल राष्ट्रिय टिम मलेसियन सुपर लिग च्याम्पियन जोहर दारुल ता’जिमविरुद्धको मैत्रीपूर्ण खेलमा सोमबार १–० ले पराजित भएको छ । तान श्री दातो हाजी हसन युनोस रंगशालामा भएको खेलमा निकोलस अल्बर्टो फर्नान्डेजले तेस्रो मिनेटमा गरेको गोल निर्णायक रह्यो । विराज महर्जन २३ सदस्यीय टिममा स्थान बनाउन असफल रहेपछि उक्त खेलमा विंगर सुजल श्रेष्ठले कप्तानी गर्ने अवसर पाए । नेपालले विश्वकप २०२२ छनोटको अन्तिम तयारीको रूपमा मलेसिया यात्रा गरेको हो । नेपालले विश्वकप छनोटको पहिलो खेल १९ भदौमा कुवेतविरुद्ध कुवेत सिटीमा खेल्दै छ ।



खेलकुद

भारतको सजिलो जित

- एएफपी

एन्टिगुआ – भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट आइतबार ३ सय १८ रनले जितेको छ । भारतीय सिमर जसप्रित बुमराहले दोस्रो इनिङ्समा ७ रन मात्र खर्चेर ५ विकेट लिएपछि वेस्ट इन्डिज सय रनमा अलआउट भएको थियो । घरेलु टिमको दोस्रो इनिङ्स २७ ओभर मात्र चलेको थियो ।त्यसमा रोस्टेन चेजले १२, केमर रोचले ३८ र म्यागुएल कमिन्सले १९ रन बनाए । अरू ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन् । यसअघि भारतीय कप्तान विराट कोहलीले वेस्ट इन्डिजलाई जितनिम्ति ४ सय १९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भारतले आफ्नो दोस्रो इनिङ्स ७ विकेट गुमाएर ३ सय ४३ रनमा टुंगेको घोषणा गरेको थियो । भारतले २ सय ९७ रन बनाएयता त्यसको जवाफमा घरेलु टिमले २ सय २२ रन बनाएको थियो । दोस्रो टेस्ट शुक्रबार जमैकामा हुनेछ ।

 

खेलकुद

बार्सिलोनालाई ग्रिजमन नै पर्याप्त

- एएफपी

बार्सिलोना – एन्टोइन ग्रिजमनले बार्सिलोना लियोनल मेसी र नेयमरबिना पनि खेल जित्न सक्छ भनेर प्रमाणित गरेपछि क्लबले आइतबार राति स्पेनी ला लिगामा रियल बेटिसलाई ५–२ ले हरायो । नोउ क्याम्पमा दोस्रो गोल गरेपछि ग्रिजमनले आत्मविश्वासपूर्ण खुसी मनाए र पूरा खेलको नायक उनी नै रहे । मेसी अझै पूरा फिटनेस प्राप्त गर्न संघर्षरत छन् । गत साता एथलेटिको बिलबाओविरुद्ध पराजित रहेपछि मेसीको अनुपस्थितिमा बाँकी खेलाडीको प्रदर्शनबारे प्रश्न उठेको थियो । ब्राजिली स्ट्राइकर नेयमार पेरिस सेन्ट जर्मेनबाट पुनः बार्सिलोना फर्किने चर्चा रहेको छ ।
बार्सिलोनाको जितमा कार्लोस पेरेज, जोर्डी अल्बा र अर्टुरो भिडालले पनि गोल गरे । बेटिसका लागि नबिल फेकिरले १५ औं मिनेटमा अग्रता दिलाए भने ७९ औं मिनेटमा गरेको गोल लेरोन मोरोनको नाममा रह्यो । यसबीचमा बार्सिलोनाले ५ गोल गरेको थियो । अंकतालिकामा बार्सिलोना एट्लेटिको म्याड्रिड पछाडि रहेको छ । एट्लेटिकोले आइतबारै अर्को खेलमा लेगानेसलाई १–० ले हरायो र आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो । त्यसमा बेन्चबाट मैदानमा छिरेका भिटोलाले निर्णायक गोल गरेका थिए ।

टोटेनहम स्तब्ध
लन्डन– स्टिभ ब्रुसले टोटेनहममाथि इंग्लिस प्रिमियर लिगमा आफ्नो टिम न्युकासल युनाइटेडले आइतबार राति पाएको १–० को जित आलोचकको मुख बन्द गर्न पर्याप्त रहेको बताएका छन् । क्लब व्यवस्थापनको जिम्मा लिएयता ब्रुसको टिमले पाएको पहिलो लिग जितमा जोयलिन्टनले उत्कृष्ट गोल गरे । टिमको जिम्मा पाएयता लगातार आलोचनको सिकार रहेका ब्रुसका लागि यो अत्यावश्यक जित भएको छ ।
किशोरावस्थादेखि न्युकासलका समर्थक रहेका ब्रुसले टिम सम्हाल्ने दोस्रो डिभिजनको क्लब सेफिल्ड वेनस्डे छाडेका थिए । उनले यसक्रममा लोकप्रिय प्रशिक्षक राफेल बेनिटेजको स्थान लिएका थिए । टोटेनहमका लागि भने आफ्नो घरेलु मैदानमा बेहोरेको यो हार ठूलो धक्का रहेको छ । आइतबार रातिकै अर्को खेलमा वोल्भस र बर्नलीले १–१ को नतिजा निकोलेको छ । राउल जिमिनेजले पेनाल्टीबाट गोल गर्दै वोल्भसलाई हारबाट जोगाए । यसअघि बर्नलीले एस्ली बर्नसको गोलबाट अग्रता लिएको थियो ।

इटाली
मिलान– एसी मिलानले इटालीको सिरी ए मा आइतबार राति खराब सुरुआत लिएको छ । नयाँ ब्राजिली अनुबन्धित खेलाडी रोड्रिगो बोकाओले दोस्रो हाफमा निर्णायक गोल गरेपछि युडिनेसीले मिलानलाई १–० ले हरायो । गत सिजन पाँचौं स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिग गुमाएको मिलानमाथि युरोपा लिग खेल्न नपाउने गरेर प्रतिबन्ध पनि लगाएको छ । आइतबारकै अर्को प्रमुख खेलमा लाजियोले साम्पडोरियालाई ३–० ले हरायो ।

खेलकुद

ग्रेट हिमालय यूएईतर्फ

- कान्तिपुर संवाददाता

काठमाडौं – वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी वाईटीसीए आमन्त्रण कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन सोमबार यूएई गएको छ । अगस्ट २६ देखि ३० सम्म अजमनमा प्रतियोगिताका खेल हुनेछ । प्रतियोगितामा ग्रेट हिमालयसहित योङ ट्यालेन्ट्स क्रिकेट एकेडेमी (वाईटीसीए) एमएस धोनी क्रिकेट एकेडेमी, भिक्टोरिया क्रिकेट एकेडेमी र किंग्स क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्दैछन् । यूएई जान लागेको ग्रेट हिमालय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेश गुरुङले बिदाइ गरे । ग्रेट हिमालयको खेलाडीहरूमा डिकेन्द्र शाह, अमित ढकाल, पीयूषकुमार झा, विकेश श्रेष्ठ, अनुरोध पन्त, सन्देश पंगेनी, रोशन दवाडी, प्रतीक ढुंगाना, आदित्य कपुरी, विराज शर्मा, राजु भुसाल, सचिन घिमिरे र अनुभव कार्की छन् ।
ग्रेट हिमालयका अध्यक्ष सुदीप शर्मा टोलीको प्रशिक्षक, सुमनराज कार्की व्यवस्थापक र नरेश केसी सहायक व्यवस्थापकमा छन् ।

खेलकुद

राष्ट्रिय खेलाडी हाबी

- कान्तिपुर संवाददाता

काठमाडौं – नवौं कोरियन एम्बासडर खुला राष्ट्रिय तेक्वान्दोमा राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका खेलाडीले प्रभावशाली प्रदर्शन गरेका छन् । मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुदको बन्द प्रशिक्षणरत खेलाडी पार्वती गुरुङ र कमल श्रेष्ठले युगल पुम्सेमा स्वर्ण पदक जितेका छन् । उनीहरूको जोडीले राष्ट्रिय टोलीका सिना मादेन र जितबहादुर बोटेको जोडीलाई हरायो । राष्ट्रिय टोलीकै नीता गुरुङ र प्रेमबहादुर लिम्बु तथा प्रशंसा क्षेत्री र शिशिर श्रेष्ठले कांस्य जिते ।
सिनियर पुम्सेको महिला र पुरुष दुवैतर्फ सबै पदक राष्ट्रिय टोलीका खेलाडीले जिते । पुरुषमा प्रेमबहादुर लिम्बुलाई हराउँदै जितबहादुरले स्वर्ण जिते । कमल र शिशिर श्रेष्ठले कांस्यमा चित्त बुझाए । महिलातर्फ पार्वती गुरुङले स्वर्ण जितिन् । नीता गुरुङले रजत तथा सिना मादेन र प्रशंसा क्षेत्रीले कांस्य जिते ।३० वर्षमाथिको महिला पुम्सेमा आयशा शाक्यले स्वर्ण जितिन् । उनले मीरा काफ्लेलाई हराइन् । सोही स्पर्धाको पुरुषतर्फ सन्जीवकुमार ओझाले स्वर्ण, जगदीश सिंह पालीले रजत र सुरज श्रेष्ठले कांस्य जिते । तीनै खेलाडी राष्ट्रिय टोलीका हुन् । पुरुष टिम पुम्सेमा कमल श्रेष्ठ, जितबहादुर बोटे र प्रेमबहादुर लिम्बु तथा महिलातर्फ पार्वती गुरुङ, सिना मादेन र नीता गुरुङको टिमले स्वर्ण जिते । ग्योरोगीतर्फ महिला ६२ केजीमुनि राष्ट्रिय टोलीकी इन्दिरा बस्नेत, ५७ केजीमुनि कोटेश्वर डोजोकी सुस्मिता मोक्तान र ५३ केजीमुनि बाँकेकी नेलिमा मल्लले स्वर्ण जितेका थिए ।

Page 25
अटो अर्थतन्त्र

विलासिता कि आवश्यकता ?

सडक र सवारी साधनको असन्तुलन, व्यापार घाटालगायत कारण देखाउँदै सरकारले आयात निरूत्साहित गरिरहेको छ । व्यवसायीहरु भने यातायात क्षेत्रले अर्थतन्त्रमा गरेको योगदान सरकारले अनदेखा गरेको आरोप लगाउँछन् ।
- कृष्ण आचार्य

पाझ्च वर्षमा सवारी साधनको संख्या ७७ प्रतिशतले बढेको छ अर्थात् पाँच वर्ष पहिले २० लाख सवारी साधन थिए, अहिले संख्या ३५ लाख ४० हजार नाघेको छ । यो अवधिमा सडक भने १२ प्रतिशतले मात्र बढ्यो । पाच वर्षअघि सबै प्रकृतिका सडकको लम्बाइ करिब ८१ हजार किलोमिटर रहेकामा अहिले ९१ हजार हाराहारी छ । सडक र सवारी साधनको असन्तुलित वृद्धिले प्रमुख सहरमा ट्राफिक जाम बढाएको छ । यसैलाई देखाएर नीति निर्मातादेखि सरोकारवाला निकायहरूले सवारी साधनलाई विलासिताका सामग्री भन्दै आयातमा निरुत्साहित गर्न खोजिरहेका छन् ।
बजेट, मौद्रिक नीति तथा यातायातका नीतिगत निर्णयमा विलासिताको व्याख्या र आयात निरुत्साहितका दर्जनौं उदाहरण छन् । सार्वजनिक सवारी साधनसम्बन्धी अर्को तथ्यांकले यो विलासिता नभई आवश्यकता रहेको देखाउँछ । हालसम्म मुलुकभरमा ठूला बस, मिनीबस, माइक्रो, टेम्पोलगायत सार्वजनिक सवारीको संख्या ४ लाख २८ हजार छ । यी सवारी साधनलाई २ करोड ९३ लाख जनसंख्यासँग तुलना गर्ने हो २२८ जनाले एउटा सार्वजनिक यातायातको भर पर्नुपरेको छ । त्यसमाथि सार्वजनिक यातायातको सन्तुलित नीति नभएका कारण सहर केन्द्रित हुँदा कतिपय ठाउँमा एउटै साधनमा सयौं सर्वसाधारणले भर पर्नुपरेको छ ।
औसतमा सार्वजनिक सवारी साधनको एक सिटमा २१ जना नेपाली निर्भर रहनुपरेको छ । ‘सार्वजनिक यातायातको अव्यवस्थाका कारण नै मैले निजी सवारी किन्नुपरेको हो,’ चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठले भने, ‘म २० वर्षदेखि निजी गाडी चढिरहेको छु ।’ केही वर्षअघि सार्वजनिक यातायात प्रयोग गर्न खोज्दा धेरै समस्या भोगेको उनले सुनाए । ‘कच्याककुचुक भएर बस्नुपर्छ । माइक्रोबसले हुक्याउँदा बान्ता होला जस्तो हुन्छ,’ उनले भने, ‘आफ्नो बिमारले पनि चाप्न थाल्यो । फेरि आफ्नै गाडी चढ्न थालें । सार्वजनिक यातायात राम्रो भए निजी गाडी बढ्ने थिएन ।’
श्रेष्ठजस्तै बाध्य भएर निजी सवारी साधन प्रयोग गर्नेको संख्या धेरै छ । त्यसैले नेपालमा सार्वजनिक सवारी साधनको तुलनामा निजीको संख्या झन्डै सात गुणा बढी छ । अर्थात् हालसम्म करिब तीन लाख कार, जिप र भ्यान आइसकेका छन् । दुईपांग्रे सवारी साधनको संख्या २५ लाख ३० हजार पुगिसकेको छ । नहुनेमा दुईपांग्रे, दुईपांग्रे हुनेमा चारपांग्रे सवारी साधन जोड्ने सपना देखिन्छ । व्यापार व्यवसाय गर्नेदेखि अध्ययन अनुसन्धान र सामान्य कामकाजीलाई सवारी साधन अनिवार्य आवश्यकता बनेको छ । उपत्यका बाहिर लामो दूरीसम्म यात्रा गर्नुपर्ने, सार्वजनिक यातायात व्यवस्थित नहुने र उपत्यकामा ट्राफिक जाम तथा कोचाकोच हुने भएकाले निजी सवारी धेरैलाई बाध्यता बनेको हो । व्यापार, व्यवसायको चौतर्फी सम्बन्ध जोड्ने साधन यही बनिदिएको छ ।
‘जहिलेबाट मैले व्यावसायिक जीवन सुरु गरें, मलाई रातो कार र रातो घरले सधैं दौडाइरह्यो,’ सवारी क्षेत्रको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले सुनाए, ‘सवारी साधनलाई विलासिताको साधन भनेर हौवा पिटाइँदै छ ।’
सवारी साधन धेरै मानिसको खुसीसँग जोडिएको विषय पनि हो । यसै वर्ष सरकारले सुरु गर्न लागेको खुसी सर्वेक्षणमा सवारी साधनदेखि अन्य धन सम्पत्तिसँगको सम्बन्ध प्रस्ट्याउनेछ । अहिले धेरै नेपाली सवारीको पहुँचबाट भने बाहिरै छन् । नाडाका अनुसार दुईपांग्रे सवारी ८ दशलमव ४३ प्रतिशत जनताले मात्र चढेका छन् । चारपांग्रे प्रयोगकर्ता ० दशमलव १ प्रतिशतभन्दा कम छन् ।
‘नेपालमा गाडी हुनेको संख्या अन्य देशको तुलनामा निकै कम हो,’ नाडाका अध्यक्ष दाहालले भने, ‘यो विकासको सूचक हो । सवारी साधनमा सबैको पहुँच भए मुलुक विकसित भएको बुझिन्छ ।’
तथ्यांकले यातायातमा पहुँच निकै कमजोर देखाइरहँदासमेत मुलुकको समग्र अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख क्षेत्र भने यही नै बनेको छ । अर्थात् सवारी साधन र अन्तरसम्बन्धित पार्टपुर्जाको आयात र यससँग सम्बन्धित राजस्व सरकार सञ्चालन गर्ने प्रमुख आधार बनिरहेको देखिन्छ । अर्थ मन्त्रालयका अनुसार गत वर्ष संकलन भएको ८ खर्ब ५० अर्ब रुपैयाँ राजस्वमध्ये करिब १८ प्रतिशत अर्थात् १ खर्ब ५० अर्ब रुपैयाँ यस क्षेत्रको हो । यसमध्ये साढे ८३ अर्ब रुपैयाँ सवारी साधन र यससँगसम्बन्धी पार्टपुर्जाको भन्सार राजस्व हो । बाँकी साढे ६६ अर्ब रुपैयाँ पेट्रोलियम पदार्थ आयात गर्दा संकलन भएको भन्सार राजस्व हो । ‘यो त प्रत्यक्ष राजस्व रकम हो,’ अर्थ मन्त्रालयको राजस्व महाशाखाका प्रमुख निर्मलहरि अधिकारी भन्छन्, ‘आयात भइसकेपछि लाग्ने विभिन्न कर, कारोबार गरेर आम्दानीमा लाग्ने आयकरलगायतको छुट्टै तथ्यांक छैन । त्यो पनि जोड्ने हो भने अझै धेरै योगदान हुन आउँछ ।’
सवारी साधनमा सरकारले विभिन्न दरअनुसार २४० प्रतिशतसम्म भन्सार राजस्व लिन्छ । भन्सार महसुल घटाइदिँदा उपभोक्ताले अहिलेभन्दा धेरै सस्तोमा मोटरसाइकल, कार किन्न पाउँछन् । भारतीय बजारमा १० लाख पर्ने कारलाई नेपालमा करिब ३५ लाख रुपैयाँमा किन्नुपरिरहेको छ । ‘भन्सार दर घटाए धेरै सवारी साधन आउने त हुन्छ, पूर्वाधार नहुँदा जताततै जामको समस्या पनि हुन्छ । भुक्तानी सन्तुलन र व्यापार घाटा पनि वृद्धि गर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भन्छन्, ‘यसका पनि विकल्प छन् । सरकारले तीव्र गतिमा पूर्वाधार विकास गरिदिनुपर्छ । भुक्तानी सन्तुलन र व्यापार घाटाको समस्या कम गर्न निर्यात बढाउने उपाय खोजी गर्नुपर्छ । सर्वसाधारणलाई सास्ती दिनु भएन ।’ उनले एउटा गाडी गुड्दा कुनै न कुनै काम भइरहेका हुनाले अर्थतन्त्रलाई नै सघाउने बताए । तर, सरकारले व्यापार घाटा कम र पूर्वाधार निर्माण तीव्र बनाइहाल्ने अवस्था देखिँदैन ।
धेरै भन्सार लगाउनको पछाडि विलासिताको दृष्टिकोण मात्रै नरहेको राजस्व महाशाखाका प्रमुख अधिकारीको प्रस्टोक्ति छ । ‘निर्यात कम र आयात धेरै हुदा व्यापार घाटा असाध्यै बढेर गएको छ । आयात विस्थापनका लागि सरकारले दर बढाएको हो,’ उनले भने, ‘सडक यति धेरै साँघुरो भइसक्यो, अब गाडी आयातलाई प्रश्रय दिने हो भने मान्छेको चहलपहल नै हुँदैन ।’ उनका अनुसार निजी सवारी साधन खरिदका लागि सर्वसाधारणको आम्दानी बढ्नुपर्छ । ‘दर बढी राख्नुको कारण दाम हुनेले मुलुक सञ्चालनलाई अलि बढी रकम तिरोस् भन्ने पनि हो,’ उनले भने ।
सरकारले विभिन्न ढंगले निरुत्साहित गर्ने नीतिगत व्यवस्था गरे पनि यस क्षेत्रमा आयात, कारोबार र बैंक तथा वित्तीय क्षेत्रको लगानी भने घटेको छैन । झन्झन् बढी नै रहेको छ । आर्थिक वर्ष २०७४/७५ मा ८६ अर्ब ३१ करोड रुपैयाँका सवारी साधन आयात गरिए । २०७५/७६ मा ९१ अर्ब १५ अर्बका यातायातका साधन र यससँग सम्बन्धित पार्टपुर्जा आयात भए । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज क्षेत्रमा १ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ लगानी गरेका छन् । रोजगारी सिर्जनामा समेत यो क्षेत्रको महत्त्वपूर्ण योगदान देखिन्छ । २१ लाख जनाले यातायात क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको केन्द्रीय तथ्यांक विभागको एक अध्ययन प्रतिवेदनले जनाएको छ । यो २ करोड ९३ लाख नेपालको जनसंख्यामा करिब ७ प्रतिशत हो ।

अटो अर्थतन्त्र

हर्मिताको हँकाइ

हर्मिता बिहान ७ बजे ग्यारेज पुग्छिन् । दिनभर साझा बस हाँकेर राति ९ बजे मोटरसाइकलमा हुइँकिएर घर फर्किन्छिन् ।
- लिला श्रेष्ठ

हझ्सिलो अनुहार । यात्रु हुन् वा सहचालक । सबैसँग मीठो बोल्छिन् । दैनिक १४–१५ घण्टासम्म चक्रपथको धुलाम्मे यात्रामा स्टेयरिङ घुमाउँदा पनि मुहारको चमकमा कुनै कमी देखिँदैन । उनी हुन्, साझा यातायातकी महिला चालक हर्मिता श्रेष्ठ । उनलाई तब मात्र नमीठो लाग्छ, जब सडक सुरक्षामा खटिएका ट्राफिक प्रहरीले ‘छुद्र व्यवहार’ गर्छन् । ‘ट्राफिक प्रहरीको ड्युटी पनि सडकमै सवारी चालकको ड्युटी पनि सडकमै, हार्दिकता हुनुपर्नेमा त्यस्तो छैन,’ उनले भनिन्, ‘ट्राफिक प्रहरीहरू ड्राइभरलाई देखी सहँदैनन् ।’
गल्ती नगरेको चालकलाई पनि ट्राफिक प्रहरीले हेर्ने दृष्टिकोण उही देख्दा हर्मितालाई दुःख लाग्छ ।
हर्मिताको दैनिकी यस्तो छ, बिहान ५ बजे उठ्छिन् । घरायसी धन्दा सकेर छोरीलाई होस्टलका लागि तयार पार्छिन् । ७ बजे छोरीलाई होस्टल पुर्‍याएर ग्यारेजको बाटो तय गर्छिन् । ७ बजेपछि उनको व्यस्तता बढ्छ । हर्मिता दिनभर साँझा बस हाँकेर यात्रुलाई तिनका गन्तव्यमा पुर्‍याएपछि राति ९ बजे मात्र घर पुग्छिन् । ‘दिनभरि गाडी हाँक्यो हरेक यात्रुलाई उनीहरूको गन्तव्यसम्म पुर्‍यायो अनि मोटरसाइकलमा हुइँकिँदै घर पुग्छु,’ उनले भनिन् ।
२०३५ मा धरानको भानुचोकमा जन्मिएकी हुन्, हर्मिता । आमाबुबाकी साँइली छोरी । परिवारमा ६ दाजुभाइ र ५ दिदिबहिनीको ठूलो परिवार थियो । ‘गाउँघरको जिन्दगी उही हो, विद्यालय जान्थें, फुर्सदको समयमा बुवाआमालाई काममा सहयोग गर्थें,’ उनी बाल्यकाल स्मरण गर्छिन्, ‘कक्षा १० सम्म मात्र पढें । धेरै पढेर डाक्टर वा इन्जिनियर त्यस्तो केही बन्ने चाहना थिएन । तर, ठूलो भएपछि चालक बन्ने रहर भने थियो ।’ हर्मिताको घरमा मारुती भ्यान थियो । चालकले मारुती भ्यान चलाएको देख्दा उनलाई पनि चलाउने रहर लाग्थ्यो । १३ वर्षको उमेरदेखि नै उनले भ्यान चलाउन सिकिन् । यसले उनमा रहेको चालक बन्ने इच्छाले पखेटा फिँजाउन थाल्यो ।
झन्डै २४ वर्षअघि हर्मिता घुम्नका लागि काठमाडौं आइन् । आफन्तको घरमा बसिन् । काठमाडौं बसेको एक वर्षपछि नै विवाह भयो । त्यसपछि उनी श्रीमान्सँग सिन्धुपाल्चोक गइन् । केही समय त्यहाँ बसेर पुनः काठमाडौं फर्किन् । विवाहपछि पारिवारिक जिम्मेवारी बढ्दै गयो । श्रीमान् एक्लैको कमाइले मात्र काठमाडौंको बसाइ त्यति सहज भएन । ‘जीवन धान्न केही त गर्नैपर्‍यो,’ उनले भनिन्, ‘जागिर खोज्ने सिलसिला जारी नै थियो, पारिवारिक जिम्मेवारी थपियो । छोरा जन्मियो ।’
हनुमानढोकामा सिलाइबुनाइको काम सिकिन् । कम ज्याला भएकाले कामलाई निरन्तरता भने दिन सकिनन् । ‘मेहनत बढी आम्दानी कम हुने के गर्नु ? यही काम पुरुष पनि गर्छन् तर ज्याला हामीभन्दा धेरै पाउँछन् । काम एउटै तर ज्याला फरक । त्यसै माथि महिलालाई गर्ने व्यवहार पनि फरक पाएँ,’ उनले भनिन् । यस्तो प्रवृत्तिसँग उनको चित्त बुझेन । सिलाइबुनाइको काम चटक्कै छाडिन् ।
त्यसपछि उनी भित्र रहेको बाल्यकालीन रुचि जाग्यो । सानैदेखिको सपना पूरा गर्न टेम्पो चलाउने निर्णय गरिन् । दुई दिनमै टेम्पो चलाउन सिकिन् । टेम्पो चलाउनका लागि लाइसेन्स निकाल्नुपर्‍यो । ट्रायल दिइन् तर उनले झ्यालबाट हेरेका कारण पहिलो पटकमा फेल भइन् । अर्को पटकको प्रयासमा भने पास भइन् । ‘जसरी नि काम गर्नु थियो, बिनालाइसेन्स सडकमा कसरी गाडी कुदाउनु,’ हर्मिताले ती दिन सम्झिन् । लाइसेन्स लिइसकेपछि काठमाडौंको एनएसी–चाबहिल–जोरपाटी रुटको टेम्पो चलाउन थालिन् । टेम्पो चलाउँदा पनि त्यति सहज थिएन । सडकको अवस्था नाजुक भए पनि परिवारको खर्च धान्न उनले टेम्पो चलाइरहिन् ।
टेम्पोबाट राम्रो आम्दानी हुन्थ्यो । घरभाडा, छोरा र आफूलाई टेम्पोको आम्दानीले पुग्थ्यो । दुई वर्ष टेम्पो चलाएपछि उनलाई अरू गाडी चलाउने इच्छा जाग्यो । त्यसपछि २०५९ तिर राष्ट्रिय महिला आयोगका अध्यक्ष दुर्गा पोखरेलको गाडी चालक बनिन् । सरकारी कार्यालयमा सवारी साधन चलाउने पहिलो महिला कर्मचारीका रूपमा दरिइन् ।
त्यो समयमा धेरै पत्रपत्रिका पढ्थिन् उनी । ‘एकदिन पत्रिका हेरिरहेकी थिएँ, संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयका लागि सवारी चालकको माग भएको देखें,’ हर्मिताले भनिन्, ‘महिला र पुरुष चाहिएको र बराबरी नम्बर ल्याएमा महिलालाई प्राथमिकता दिइने उल्लेख थियो, सायद समयले साथ दिएर होला त्यहाँ पनि पहिलो महिला चालक कर्मचारीका रूपमा काम पाएँ ।’
उनी काममा लगनशील थिइन् । जस्तोसुकै जोखिम उठाउन पनि तत्पर रहन्छिन् । काठमाडौंका सडकमा टेम्पो हाँकेकी उनले उक्त संस्थामा आबद्ध भएपछि विकट ठाउँसम्म पुगिन् । झरी परेको समयमा यात्रा गर्दा ठाउँठाउँमा पहिरो खसिरहेको हुन्थ्यो । डोजर बोलाएर बाटो मिलाउने क्रममा माथिबाट ढुंगा झर्छ या पहिरो जान्छ । मनमा सधैं डर खेल्थ्यो । यसरी गाडी लिएर बाहिर जाँदा उनले छोरा घरमै छोड्नुपर्थ्यो । ‘अरूका बच्चा आमासँगै खेलेको देख्दा मन पोल्थ्यो, आखिर यात्रामा हिँडेपछि गन्तव्यसम्म पुग्नैपर्‍यो,’ हर्मिताले भनिन्, ‘सन्तानकै लागि त गरिरहेकी छु भन्दै अघि बढ्थें ।’
उनले उक्त संस्थामा १५ वर्ष काम गरिन् । १५ वर्षको जागिरले हर्मिताले चोभारको पाण्डे छापमा दुई तले घर जोडिन् । उनले त्यसपछि दोस्रो सन्तानका रूपमा छोरी जन्माइन् । करिब चार महिना आराम गरेपछि काठमाडौं र काँकडभिट्टा रुटको माइक्रोको चालक बनिन् ।
गत असार १५ देखि उनी साझा यातायातको एक मात्र महिला बस चालक भएकी छन् । जीवनको दौरानमा धेरै साधन चलाए पनि ठूलो गाडी (साझा यातायात) चलाउन लागेको डेढ महिना मात्र भएको उनी बताउँछिन् । साझा यातायातले बस थप्दै छ भन्ने कुरा थाहा पाएपछि उनी गएकी थिइन् । ‘नाम निस्किन्छ कि भनेर कोसिस गरेकी थिएँ । महिलालाई प्राथमिकता दिएछन्, एकदमै खुसी लाग्यो,’ उनी खुसी देखिइन् । हर्मिताले साना गाडीहरू वषौंदेखि सडकमा कुदाएकी थिइन् । तर, यति ठूलो बस पहिलोपटक चलाइरहेकी छन् । ठूलो गाडी चलाउन कुनै असजिलो नभएको उनले बताइन् । ‘हुन त साझा यातायात अरू गाडीभन्दा फरक छ तर आत्मविश्वासले चलाउँदा कुनै गाह्रो नहुने रहेछ,’
उनले भनिन् ।

Page 26
अटो अर्थतन्त्र

नीति न पूर्वाधार

विद्युतीय सवारी
छिमेकी चीन र भारतसहित प्रायजसो मुलुकले विद्युतीय सवारी प्रवर्द्धन गर्ने नीति बनाइरहँदा नेपालले पनि त्यस्तै गर्ने संकेत त देखाएको छ तर कार्यान्वयनमा लैजाने पूर्वाधार चाहिँ बनेका छैनन् ।
- विजय तिमल्सिना

सरकारले साझा यातायातलाई ३ सयवटा विद्युतीय बस खरिदका लागि करिब ३ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएर विद्युतीय सवारी प्रवर्द्धनमा आफ्नो रुचि प्रस्ट पारेको छ तर यसलाई मूर्तरूप दिन नीति र पूर्वाधार निर्माण तदारुकता देखाएको छैन ।
सन् १९६० को दशकमै काठमाडौं–भक्तपुर रुटमा विद्युतीय बस (ट्रली) सञ्चालन गरेको नेपालका लागि विद्युतीय सवारी अहिले यति चर्चाको विषय नहुनुपर्ने थियो । ५ दशकअघि नै विद्युतीय बस गुडेको नेपाली सडकमा अहिले डिजेल र पेट्रोलबाट चल्ने सवारीको आधिपत्य छ । विद्युतीय सवारीका लागि सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार चार्जिङ स्टेसन र यसको मापदण्ड हो । कस्ता खालका ब्याट्री र कुन गुणस्तरका सामग्री प्रयोग गर्न पाउने, चार्जिङ स्टेसनको मापदण्ड के हुने विषयमा सरकारी तवरबाट नीति बनिसकेको छैन । ऊर्जा मन्त्रालयले चार्जिङ स्टेसनको मापदण्ड तयार पार्न समिति गठन गरेको भए पनि यसले पूर्णता पाएको छैन । समितिले तयार पारेको मापदण्डका आधारमा उपत्यकासहित देशैभर चार्जिङ स्टेसन निर्माण गर्ने नेपाल विद्युत् प्राधिकरणको तयारी छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चालु आर्थिक वर्षभित्रै प्राधिकरणले कम्तीमा पनि ६० वटा चार्जिङ स्टेसन निर्माण गर्ने दाबी गर्छन् । ‘प्रत्येक प्रदेशमा ८–१० वटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना छ,’ घिसिङले भने, ‘साझाले किन्ने भनेको ३ सयवटा विद्युतीय बसका लागि पनि हामी नै चार्जिङ स्टेसन बनाउँछौं ।’
आगामी वर्षदेखि वर्षायाममा उत्पादित विद्युत् खेर जाने अवस्थाको प्रक्षेपण गर्दै प्राधिकरणले चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको हो । यो योजना प्राधिकरणले अघिल्लो आर्थिक वर्ष पनि बनाएको थियो । तर, पूरा भएन । प्राधिकरणले यसै वर्षदेखि स्वदेशमा विद्युत् खपत बढाउने अभियान पनि थालेको छ ।
भारतले पनि सन् २०३० सम्ममा आफ्नो देशमा बिक्री हुने सबै सवारी विद्युतीय हुनुपर्ने भनेको छ । चीनले सन् २०२५ सम्ममा आफ्नो देशमा गुड्ने कम्तीमा २० प्रतिशत सवारी पेट्रोल र विद्युत् दुवैबाट चल्ने ‘हाइब्रिड’ हुने अपेक्षा गरेको छ । बेलायत र फ्रान्सले सन् २०४० देखि डिजेल र पेट्रोलबाट चल्ने सवारी पूर्णतः प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् । युरोपका अधिकांश देशले पनि यहीअनुसारको तयारी गरिरहेका छन् । विभिन्न मुलुकले समयसीमा तोकेर विद्युतीयबाहेकका सवारी बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेपछि अधिकांश कार निर्माताले विद्युतीय सवारी निर्माणमा हात हालिसकेका छन् । नेपालमा विद्युतीय सवारी बढी प्रभावकारी हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तर्क छ । ‘केही वर्षअघिसम्म चरम लोडसेडिङ खेपिरहेको भए पनि आगामी वर्षदेखि उत्पादित विद्युत् खेर जाने अवस्थामा छ,’ उनले भने, ‘आफ्नो देशमा उत्पादित विद्युत् खपत गर्न पनि विद्युतीय सवारी साधनमा जोड दिनुपर्छ ।’ वातावरणका हिसाबले र डिजेल तथा पेट्रोलियम पदार्थको आयात विस्थापित गर्न पनि विद्युतीय सवारी अपरिहार्य भएको उनी बताउँछन् । भविष्य विद्युतीय सवारीको भए पनि पूर्वाधार विद्युतीय सवारी मैत्री नभएको नाडाका पूर्वअध्यक्ष शौरभ ज्योति बताउँछन् । ‘विद्युतीय सवारीलाई मास ट्रान्सपोर्ट बनाउने कुरा छ,’ उनी भन्छन्, ‘यसका लागि पूर्वाधार छ त ?’
सरकारले विद्युतीय सवारीको मापदण्ड तोक्नुपर्ने र यसको सुरक्षाका विषयमा पनि ध्यान दिन उनले सुझाव दिए । ‘विद्युतीय सवारीमा प्रयोग हुने लिथेनियम ब्याट्री तात्छ,’ उनी भन्छन्, ‘ब्याट्री तातेर आगलागी भयो भने के गर्ने ?’ जुनसुकै ब्रान्डको विद्युतीय सवारी भित्रिन दिंदा भविष्यमा समस्या पर्ने भएकाले बेलैमा ध्यान दिनुपर्ने उनले बताए । चार्जिङ स्टेसनमा सपोर्ट गर्ने प्लगिन, गाडीमा हुनुपर्ने प्लगिनको मापदण्ड तोक्न माग हुँदै आएको छ । फरक फरक प्लगिन सपोर्ट गर्ने चार्जिङ स्टेसन हुँदा भविष्यमा समस्या पर्ने जानकारहरू बताउँछन् । विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री र यसको मूल्य पनि नियमन हुनुपर्ने माग हुँदै आएको छ । विद्युतीय सवारीमा लाग्ने सबैभन्दा महँगो पूर्जा ब्याट्री हो । ब्याट्री बिग्रिए लागत महँगो पर्ने भय उपभोक्तामा छ । सीजी मोटोकर्पका करण चौधरीका अनुसार नेपालमा कुल सवारीको करिब १.४ प्रतिशत विद्युतीय सवारी छन् । पछिल्ला दुई वर्षमा विद्युतीय सवारी आयातको दर बढेको उनले बताए ।
गोल्छा अर्गनाइजेसनका आकाश गोल्छा भने विद्युतीय सवारीको भविष्य भए पनि अहिले महँगो भएको तर्क गर्छन् । ‘अहिले सामान्य गाडीभन्दा विद्युतीय सवारी ३ गुणा महँगो हुन्छ,’ उनले भने, ‘८–१० वर्षमा ब्याट्री फेर्दा फेरि अर्को खर्च हुन्छ ।’ सरकारले अध्ययन समिति बनाएर चार्जिङ स्टेसन, ब्याट्रीको पुनर्प्रयोग र सुरक्षाजस्ता विषयमा मापदण्ड तयार पार्नुपर्ने उनको सुझाव छ ।
सरकारले भने भन्सार छुटसहितका केही प्रावधान राखेर विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति बनाएको छ । डिजेल र पेट्रोलबाट चल्ने सवारी भित्र्याउँदा खरिद मूल्यमा साढे २ सय प्रतिशत कर असुल्ने सरकारले विद्युतीय सवारीमा करिब २८ प्रतिशत मात्रै कर लिने गरेको छ । सरकारले विद्युतीय सवारी प्रवर्द्धनका लागि भन्सार छुटबाहेक कुनै नीति बनाउन सकेको छैन । विद्युतीय सवारी भित्र्याइरहेका केही निजी कम्पनीले आफूले बिक्री गर्ने सवारी चार्ज गर्न काठमाडौंका केही स्थानमा चार्जिङ स्टेसन निर्माण गरेका छन् ।
प्राधिकरणले पनि २ वर्षअघिदेखि सुन्धारास्थित आफ्नो केन्द्रीय कार्यालयमा एक विद्युतीय चार्जिङ स्टेसन राखेको छ । ४० किलोवाट क्षमताको चार्जिङ स्टेसनमा विद्युतीय सवारीले शुल्क बुझाएर चार्ज गर्न सक्छन् । यहाँ करिब २ घण्टामा सवारी चार्ज हुन्छ ।
४५६ मेगावाटको निर्माणाधीन माथिल्लो तामाकोसीसहित केही जलविद्युत् आयोजना पूरा भए चालु आर्थिक वर्षमा ११ सय मेगावाटभन्दा बढी विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने अनुमान छ । यही विद्युत्लाई उद्योग, विद्युतीय सवारी र घरायसी काममा एलपी ग्यासलाई विस्थापित गरेर देशभित्रै खपत गर्ने अवस्था तयार गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणले विद्युत् खपत गर्ने योजना बनाए पनि आवश्यक पर्नेलाई विद्युत् दिन सक्ने वितरण प्रणाली विकास भइसकेको छैन । अहिले पनि उद्योगहरूले मागेको करिब ३ सय मेगावाट विद्युत् वितरण प्रणालीको अभावमा दिन नसकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले घरायसी प्रयोगकर्तालाई १६ एम्पियरसम्मको लाइन दिंदै आएको छ । विद्युतीय सवारी चार्ज गर्न यसले सम्भव नहुने जानकारहरू बताउँछन् । प्राधिकरणले ६४ एम्पियरको लाइन दिए सवारीहरू २ घण्टामा घरमै चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन घरघरमा राख्न सकिन्छ । हरेक घरमा विद्युतीय सवारी चार्ज गर्न मिल्ने गरी विद्युत् वितरण गर्ने हो भने प्राधिकरणले आफ्नो वितरण प्रणालीमा व्यापक सुधार गर्नुपर्ने हुन्छ । प्राधिकरणले चार्जिङ स्टेसनबाट खपत हुने विद्युत् मूल्य कम गरे मात्रै उपभोक्ताहरू यसतर्फ आकर्षित हुने जानकारहरू बताउँछन् ।
२०४९ सालमा बनेको यातायात व्यवस्था ऐनले भर्खरै विकास हुँदै गएको विद्युतीय सवारीसम्बन्धी व्यवस्था समेट्न सकेको छैन । विद्युतीय सवारीले उत्पादन शुल्क (एक्साइज ड्युटी) सवारीअनुसार १ देखि १० प्रतिशत मात्रै तिर्नुपर्ने भएकाले केही सहुलियत भने छ । विद्युतीय सवारीले वार्षिक करमा पनि आधा छुट पाउने व्यवस्था छ ।
लिथेनियम ब्याट्रीका कारण विद्युतीय सवारी महँगो पर्ने गरेको छ । तर, लिथेनियम ब्याट्रीका विषयमा भएका खोज र अनुसन्धानका कारण यसको मूल्य घट्दै गएको छ । आगामी दिनमा यसको मूल्य थप घट्ने अध्ययनहरूले देखाएका छन् । सन् २०२५ सम्ममा विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्रीको मूल्य व्यापक घट्ने अनुमान छ ।
नेपालले वार्षिक करिब १२ खर्ब रुपैयाँभन्दा बढीको विद्युतीय सवारी आयात गर्दै आएको छ । हरेक वर्ष करिब २० प्रतिशतका दरले सवारी आयात बढ्दो छ । सवारी साधनको पाटपुर्जा मात्रै वार्षिक खरिब एक खर्बको आयात हुन्छ ।
उचित कानुन र पूर्वाधार नभए पनि सरकारी निकायले नै पछिल्लो समय विद्युतीय सवारीलाई प्रोत्साहन गर्न केही सांकेतिक प्रयास गरेका छन् । गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीका लागि विद्युतीय कार खरिद गरिएको थियो । चिनियाँ कम्पनीको बीवाईडीको ई सिक्स मोडलको यो कार राष्ट्रपति कार्यालयले करिब ६० लाख रुपैयाँमा किनेको हो ।

अटो अर्थतन्त्र

'पेट्रोलियम सवारी १५ वर्षमै हटाउन सकिन्छ'

- कान्तिपुर संवाददाता

नेपाल आगामी वर्षदेखि वर्षायाममा विद्युत्मा आत्मनिर्भर बन्ने प्रक्षेपण छ । बढी विद्युत् उत्पादन हुने भएपछि नेपाल विद्युत् प्राधिकरण विद्युत् खपत बढाउने उपायको खोजीमा छ । खपत बढाउने एउटा प्रमुख अभियान विद्युतीय सवारी साधनको प्रवर्द्धन हो । विद्युतीय सवारीका लागि ठाउँठाउँमा चार्जिङ स्टेसन बनाउन प्राधिकरण आफैं जुटिरहेको छ । यही सन्दर्भमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग विजय तिमल्सिना र कृष्ण आचार्यले गरेको कुराकानी–

विद्युतीय सवारीका लागि पूर्वाधार निर्माणमा के भइरहेको छ ?
विद्युतीय सवारीका लागि दुइटा पूर्वाधारको कुरा गर्नुपर्छ । एउटा भौतिक पूर्वाधार, यसमा चार्जिङ स्टेसन पर्छ र अर्को नीतिगत पूर्वाधार । चार्जिङ स्टेसनमा विद्युत् लाइन चाहिन्छ । दसवटा चार्जिङ प्वाइन्ट एक ठाउँमा राखियो भने सानो खालको सबस्टेसन नै बनाउनुपर्छ । चार्जिङ स्टेसनमा अन्य पूर्वाधार पनि राख्नुपर्छ । विद्युतीय सवारी प्रवर्द्धन गर्नका लागि यस्तो पूर्वाधार विभिन्न ठाउँमा चाहिन्छ । काठमाडौंभित्रै विद्युतीय सवारी चलाउँदा पनि ठाउँठाउँमा चार्जिङ स्टेसन चाहिन्छ । देशैभरि विद्युतीय सवारी चलाउन प्रोत्साहित गर्ने हो भने पनि निश्चित स्थानमा चार्जिङ स्टेसन चाहिन्छ । विभिन्न स्थानमा चार्जिङ स्टेसन राख्न प्राधिकरणले टेन्डर आह्वान गर्दै छ । उपत्यकामा सञ्चालन हुने बसले आफ्नै चार्जिङ स्टेसन राखिरहेका छन् । भविष्यमा निजी कम्पनीहरूले व्यावसायिक रूपमा पनि यस्ता चार्जिङ स्टेसन राख्न सक्छन् । निजी क्षेत्रले चार्जिङ स्टेसनको व्यवसाय गर्छु भन्यो भने पाउँछ ।हामीले प्रवर्द्धनका लागि केही ठाउँमा मात्रै चार्जिङ स्टेसन बनाउने हो । बस र कार चार्ज हुने गरी विभिन्न स्थानमा स्मार्ट चार्जिङ राख्न खोजेका छौं । त्यसमा सबै ब्रान्डका कार वा बस चार्ज गर्न सकिन्छ । चार्ज गरेबापत अनलाइन पेमेन्टको व्यवस्था गर्ने योजना बनाएका छौं । देशैभरि राखिएका चार्जिङ स्टेसन एकै ठाउँबाट नियन्त्रण गर्न सक्ने प्रणाली राख्न खोजेका हौं ।अर्कोतिर चार्जिङ स्टेसनमा प्रतियुनिट कति मूल्य लाग्ने भन्ने विषयमा नीतिगत व्यवस्था हुनुपर्छ । ऊर्जा मन्त्रालयले चार्जिङ स्टेसनको कार्यविधि बनाइरहेको छ । यो काम धेरै अघि बढिसकेको छ ।

कार्यविधिले के–के विषय समेट्छ ?
कार्यविधिमा चार्जिङ स्टेसनको मापदण्ड, चार्ज गर्दा प्रतियुनिट मूल्य, कति नाफा राख्ने, कस्तो चार्जिङ पोर्ट हुनेलगायत विस्तृत प्रावधान आउँछन् । पेट्रोलपम्पलाई नियमन गरेजस्तै कार्यविधिले विद्युतीय सवारी चार्ज गर्ने स्टेसनलाई नियमन गर्छ । यसमा सुरक्षाको मापदण्ड हुन्छ ।

प्राधिकरणले चार्जिङ स्टेसन बनाउँदै छ र निजी क्षेत्रले पनि आफैं बनाउने भन्नुभयो । खासमा जिम्मेवारी कसको हो ?
प्राधिकरणले विद्युतीय सवारी प्रवर्द्धनका लागि मात्रै चार्जिङ स्टेसन निर्माण गर्ने हो । चार्जिङ शुल्क महँगो भयो भने विद्युतीय सवारी नआउन सक्छन् । त्यसैले यसलाई नियन्त्रण गर्नुपर्छ । निजी क्षेत्रलाई मात्र
छाड्दा महँगो शुल्क हुन सक्छ जसले विद्युतीय सवारी निरुत्साहित गर्छ । निजी क्षेत्रको एकाधिकार नहोस् भनेर पनि हामीले बनाउन लागेका हौं । राज्यले दुई चार ठाउँमा चार्जिङ स्टेसन राखिदियो भने नियमन हुन्छ । एकैचोटि निजी क्षेत्र चार्जिङ स्टेसनको व्यवसायमा नआउन पनि सक्छ । त्यसकारण हामीले प्रवर्द्धन गर्नुपर्छ । हामीले भविष्यमा चार्जिङ स्टेसन बढाउनु नपर्ने स्थिति पनि आउन सक्छ । हामीले प्रवर्द्धन गर्ने चार्जिङ स्टेसनभन्दा पनि विद्युतीय सवारी हो ।

कति ठाउँमा चार्जिङ स्टेसन राख्ने योजना छ ?
काठमाडौं र ललितपुर महानगरपालिकाले हामीलाई उपलब्ध गराएको स्थानमा सुरुमा राख्ने योजना छ । साझा यातायातले पनि ३ सयवटा विद्युतीय बस किन्दै छ । साझा र हामीबीच चार्जिङ स्टेसनका लागि समझदारी भएको छ । साझाले जग्गा उपलब्ध गराउने र हामीले पूर्वाधार राखिदिने समझदारी भएको छ । उपत्यकासहित यो सुविधा देशभर विस्तार गर्ने योजना छ । प्रदेश सरकार र नगरपालिकाले उपलब्ध गराउने जग्गामा राख्दै जान्छौं । हामीले सूचना पठाएका छौं । केहीले जग्गा उपलब्ध गराइदिने प्रतिबद्धता जनाइसकेका छन् । हरेक प्रदेशमा ८–१० वटा र काठमाडौंमा कम्तीमा पनि ३० वटा गरी ५०–६० वटा चार्जिङ स्टेसन सुरुमै राख्न पाए राम्रो हुन्थ्यो । प्राधिकरणकै जग्गा भएको केही स्थानमा पनि राख्छौं । सिंहदरबार, संसद् भवनजस्ता ठाउँमा पनि दुई–चारवटा राख्न सकिन्छ ।

चार्जिङ स्टेसनको टेन्डर कहिलेसम्म खुल्छ ?
सकेसम्म चाँडै गर्ने हाम्रो तयारी छ । विद्युतीय कार चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन सुरुमै राख्ने हाम्रो योजना छ । बसका लागि भने पछि राख्छौं । बस कस्तो आउँछ भन्ने निश्चित भइसकेको छैन । साझाले कस्तो बस किन्छ भनेर कुर्दै छौं । साझाले किन्ने बस निश्चित भएपछि बस चार्ज गर्न पूर्वाधार स्थापना गर्छौं ।

स्टेसनमा चार्ज गरेको शुल्क कति लाग्न सक्छ ?
हामीले सवारी चार्जका लागि प्रतियुनिट विद्युत् मूल्य १० रुपैयाँ राख्यौं भने पनि विद्युतीय बसको ऊर्जा लागत प्रतिकिलोमिटर बढीमा ३ रुपैयाँ पर्छ । अहिलेको हिसाबमा विद्युतीय सवारी प्रतिकिलोमिटर २ रुपैयाँमा गुड्न सक्छ । पेट्रोल र डिजेल प्रयोग गर्दा प्रतिकिलोमिटर ऊर्जा लागत ७–८ रुपैयाँ पर्छ । तर, हामीले राख्ने प्रतियुनिट दर योभन्दा सस्तो हुन्छ । दिउँसो सामान्य दर र राति सस्तो दर हुन्छ । एकपटक चार्ज गर्दा ३–४ सय किलोमिटर गुड्ने विद्युतीय सवारी आइसकेका छन् । त्यसकारण विद्युत् माग उच्च हुने समयमा चार्ज गर्नुपर्छ भन्ने छैन । राति ल्याएर चार्ज गर्दा सस्तो पनि हुन्छ । राति विद्युतीय सवारी चार्ज गर्दा प्राधिकरणलाई पनि निकै फाइदा हुन्छ । राति खेर गइरहेको विद्युत् खपत हुन्छ । ९ बजेपछि विद्युत्को माग घटेको हुन्छ । त्यो विद्युत् चार्जिङ स्टेसन मार्फत खपत गर्न पाइयो भने हामीलाई राम्रो हुन्छ । त्यसैले राति चार्ज गर्दा प्रतियुनिट मूल्य कम राख्ने हाम्रो योजना छ । हामीलाई विद्युत् खपत पनि बढाउनु छ ।

विद्युतीय सवारीको क्षेत्रमा कति विद्युत् खपत होला भन्ने अनुमान छ ?
औपचारिक रूपमा ठ्याक्कै हिसाब निकालेका छैनौं । एउटा गाडी तीव्र गतिमा चार्ज भयो भने २ घण्टासम्म लाग्छ । एउटा स्टेसनले दैनिक १२ वटा सवारी चार्ज गर्न सक्छ । एउटा स्टेसनमा औसत ३ वटा चार्जिङ प्वाइन्ट राख्यो भने ५० वटा स्टेसनबाट दिनमा १८०० गाडी चार्ज हुन्छन् । तर, सबैमा शतप्रतिशत उपयोग हुन्छ भन्ने छैन । त्यसैले ५० प्रतिशत मात्रै सदुपयोग भयो भने पनि राम्रो विद्युत् खपत हुन सक्छ । अहिले २ खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम आयात भइरहेको छ । यसलाई आधा मात्रै कम गर्न सकियो भने पनि धेरै फाइदा पुग्छ । १ खर्बको पेट्रोल आयात कम भयो भने जम्मा एक तिहाइ रकम खर्च गरेर विद्युत ऊर्जा किने पुग्छ । बढी लागे ५० प्रतिशत लाग्ला । यो हिसाबले पेट्रोलियम आयात १ खर्बले घट्यो भने हाम्रो करिब ५० अर्बको विद्युत् खपत हुन्छ । देशभरिमा अहिले करिब ७० अर्ब जतिको विद्युत् खपत हुन्छ । ५० अर्बको खपत थपियो भने हाम्रो आम्दानी पनि बढ्छ ।
आगामी वर्षसम्ममा हाम्रो करिब १ हजार मेगावाट विद्युत् थपिँदै छ । विद्युत् थपिएपछि प्रणाली २०००–२२०० मेगावाटमा पुग्छ । अर्को वर्ष पिक डिमान्ड पनि करिब १४ सय पुग्ला । वर्षायाममा आउने २ हजार मेगावाट विद्युत् चार्जिङ स्टेसनबाट मात्रै नभएर खाना पकाउने ग्यास विस्थापित गरेर भए पनि खपत गर्ने योजना छ । हिउँदमा पिक टाइममा भने आयात गर्नुपर्ने अवस्था आउन सक्छ । तर, विद्युतीय सवारीले हाम्रो प्रणालीलाई सन्तुलित बनाउन सघाउँछ ।

डिजेल र पेट्रोलबाट चल्ने सवारीभन्दा विद्युतीय निकै महँगो हुन्छ भनिन्छ । विद्युतीय सवारी महँगो भनेर उपभोत्ताले खरिद गरेनन् भने चार्जिङ स्टेसन प्रयोगविहीन त हुँदैनन् ?
यो गलत धारणा हो । म पनि अहिले विद्युतीय सवारी नै चढिरहेको छु । मैले चढ्ने विद्युतीय गाडीमा कुनै समस्या छैन । आवाज आउँदैन, पिकअप पनि राम्रो छ । बाहिर लैजान पनि समस्या छैन । चार्जिङ स्टेसनको अभावले बाहिर भने लान पाएको छैन । विद्युतीय सवारीको तल ब्याट्री हुने भएकाले भुइँ छुने गरेको अनुभव छ । तर, अबको केही वर्षमा हाम्रा सडकका खाल्डाखुल्डी नहोलान् । राम्रो सडकमा विद्युतीय सवारीमा जति आनन्द अरूमा हुन्न । यसमा मर्मत–सम्भार खर्च पनि कम हुन्छ ।

विद्युतीय सवारीको प्रवर्द्धनका लागि मुख्य के काम गर्नुपर्छ ?
विद्युतीय सवारी प्रवर्द्धन गर्ने हो भने काठमाडौं उपत्यकाको पूर्वाधार सुधार्नुपर्छ । कुनै दिन अवश्य पनि सुध्रिहाल्छ । अहिले राम्रो ग्राउन्ड क्लियरेन्स (भुइँ नछुने गाडी) भएको विद्युतीय सवारी पनि आइसकेका छन् । विद्युतीय सवारी प्रवर्द्धन गर्नुपर्छ । अहिले भएका सबै पेट्रोल र डिजेल गाडी प्रतिस्थापन गर्न सकिन्न । तर, अब विद्युतीय सवारीको संख्या बढाउँदै जान सकिन्छ । आगामी ४–५ वर्षसम्म आयात हुने ६०–७० प्रतिशत गाडी विद्युतीय भए भने बिस्तारै अन्य सवारी विस्थापित हुँदै जान्छन् । केही वर्षपछि सत प्रतिशत विद्युतीय सवारी आयात होस् । यसो भए पुराना सवारी हटाउन १०–१५ वर्ष लाग्छ ।
विद्युतीय सवारी प्रवर्द्धनका लागि सरकारले भन्सारमा अझैं सहुलियत दिन सक्छ । ब्याट्रीको भन्सारमा पनि सहुलियत दिएर सस्तो बनाउन सकिन्छ । विदेशमा विद्युतीय सवारीका लागि पार्किङ शुल्क मिनाहा गरेर पनि प्रवर्द्धनको प्रयास भइरहेका छन् । चार्ज गर्न आवश्यक पर्ने विद्युत्मा हामी धेरै सहुलियत दिन सक्छौं । आगामी वर्ष ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण पूरा भएपछि रातको समयमा विद्युत् शुल्क धेरै घटाउन सकिन्छ ।

विद्युतीय सवारी प्रवर्द्धनको कुरा गरिरहँदा यसमा प्रयोग हुने ब्याट्री र सवारीको मापदण्ड पनि तोक्नुपर्ने माग उठिरहेको छ । मापदण्डचैं कसले बनाउँछ ?
ब्याट्रीको मापदण्ड हामीले तोक्ने कुरा भएन । अहिले सबैले ब्याट्रीमा लिथेनियम आयन नै प्रयोग गर्छन् । जिम्मेवार निकायले यसको गुणस्तरको मापदण्ड तोक्नुपर्छ । अहिले प्रायजसो कम्पनीले कम्तीमा पनि १० वर्षको ग्यारेन्टी भएको ब्याट्री दिन थालेका छन् ।

विद्युतीय सवारी प्रयोगकर्ताले घरमै चार्जिङ स्टेसन बनाउन चाहे भने के हुन्छ ?
हामीले घरमा बनाउनेभन्दा पनि सार्वजनिक चार्जिङ स्टेसनका लागि विद्युत्को दर निर्धारण गर्छौं, जसमा विद्युतीय सवारी साधन प्रयोगकर्ताले पैसा तिरेर चार्ज गर्न पाउँछन् । कसैले घरैमा पनि चार्जिङ स्टेसन राखेर प्रयोग गर्छ भने त्यसको रेट भने घरायसी प्रयोगकर्ताका लागि तोकिएकै अनुसार हुन्छ । धेरै प्रयोगकर्ताले घरमा चार्जिङ स्टेसन बनाएर प्रयोग गर्न थाले भने वितरण प्रणालीमा सुधार गर्नुपर्छ । तर, त्यो अवस्था आउन अझै केही वर्ष लाग्छ । हामीले स्थापना गर्ने चार्जिङ स्टेसनमा भने वितरण लाइनको पूर्वाधार नै बनाउँछौं ।

घरमा होस् वा निजी सवारी साधन कम्पनीहरूले चार्जिङ स्टेसन राख्दा अनुमति लिने संयन्त्र छ त ?
विभिन्न ब्रान्डका सवारी कम्पनीले चार्जिङ स्टेसन राखिरहेका छन् । अहिले राखिसके पनि उहाँहरूले अनुमति लिने व्यवस्था हुनेछ । मन्त्रालयले कार्यविधि तयार पारिरहेको छ । पेट्रोलपम्पको अनुमति र नियमन आयल निगमले गरेजस्तै चार्जिङ स्टेसनको अनुमति र नियमन प्राधिकरणले गरोस् भन्ने मन्त्रालयको चाहना छ ।

Page 28
अटो अर्थतन्त्र

आयातमा कडाइ होइन, पूर्वाधार विस्तार

- कान्तिपुर संवाददाता

सरकारले बैंक ऋण, भन्सारलगायत सुविधामा कडाइ गरेसँगै केही वर्षयता सवारी साधन आयात घट्दै गएको छ । सरकारको नीतिले राजस्व संकलन, रोजगारी सिर्जना, सर्वसाधारणको पहुँचमा अवरोध गरिरहेको व्यवसायीहरुको आरोप छ । उनीहरु सवारी साधन आयात, बिक्री, प्रवर्द्धनसँगै सरकारी नीति परिवर्तन गर्ने अभियानमा छन् । सरोकारवाला सरकारी निकाय भने यो क्षेत्रलाई धेरै सुविधा दिइहाल्ने मनस्थितिमा देखिँदैनन् । यो पृष्ठभूमिमा सरकारी नीति नियम, पेट्रोलियम सवारी विस्थापित गर्दै विद्युतीयलाई प्रोत्साहन गर्ने अवधारणा र यस क्षेत्रको व्यावसायिक वातावरण लगायत विषयलाई केन्द्रमा राखेर कान्तिपुर दैनिकले आयोजना गरेको ‘नाडा अटो सो विशेष कान्तिपुर राउन्ड टेबल’ मा सहभागीद्वारा प्रस्तुत विचारको सम्पादित अंश–


विलासिता भनेर हौवा पिटाइनु हुन्न

शम्भुप्रसाद दाहाल
अध्यक्ष
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
अटोमोबाइल्समा नराम्रो मात्र देख्दिनँ । तथ्यांक हेर्‍यो भने राम्रै छ । १०/१५ प्रतिशत वृद्धि अपेक्षा गरिएकै हुन्छ । वृद्धि होस् भनेरै काम गर्छौं । व्यक्तिगत जीवन, सामाजिक जीवन र व्यापारमा वृद्धि हुन्छ । कहिलेकाहीँ सबैथोक वृद्धि हँॅदैन । कुनै न कुनै विन्दुमा आएर ठोक्किन सक्छ । अर्थतन्त्रजस्तै अटोमोबाइल्स क्षेत्रमा पनि वृद्धि भई नै राख्नुपर्छ । नत्र कहीँ न कहीँ ठोक्किन्छ । अहिले ठोक्किएको अवस्था छ । बिक्रीको तथ्यांक निकाल्न एकदम गाह्रो छ । चारपांग्रेको तथ्यांक अघिल्लो आर्थिक वर्ष जुन थियो, यो वर्ष पनि त्यही छ । स्पेयरपार्टस ६ प्रतिशतजस्तो घटेको देखिन्छ । यो सामान्य नै हो । आगामी दिनमा राम्रो देख्छु । दुईपांग्रे ८ दशमलव ४३ प्रतिशत जनताले मात्र चढेको देखिन्छ । चारपांग्रे प्रयोगकर्ता ० दशमलव १ प्रतिशतभन्दा कम छन् । दुईपांग्रे र चारपांग्रेको पहुँचभन्दा बाहिर रहेको ठूलो समूह छ । नेपालमा गाडी हुनेको संख्या अन्य देशको तुलनामा निकै कम हो । यसलाई विलासिताको साधन भनेर हौवा पिटाइदिनु हुँदैन । यो विकासको सूचक हो । सबैको पहुँच सवारी साधनमा भयो भने त्यो विकसित मुलुक भन्ने बुझिन्छ । जहिलेबाट मैले व्यावसायिक जीवन सुरु गरें, मलाई रातो कार र रातो घरले सधैं दौडाइरहेको छ । अब दौडनै नदिने भन्ने त भएन । यो प्रोडक्टिभिटी बढाउने चिज हो ।

व्यापार घाटा हेर्ने, राजस्व नहेर्ने ?

अञ्जन श्रेष्ठ
निवर्तमान अध्यक्ष
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
अटोमोबाइल्स क्षेत्रमा समस्या छ । समस्या हेर्ने, सोच्ने, बुझाइमा छ । यसलाई कुनै बेला विलासी भनियो । यसलाई राजस्वको लक्ष्यको हिसाबले हेरिन्छ । अर्को उत्पादक र अनुत्पादक हिसाबले पनि हेरियो । यसलाई भुक्तानी असन्तुलन र व्यापार घाटासँग दाँजेर हेरिएको देखिन्छ । अटोमोबाइल्स क्षेत्रलाई हेर्ने, बुझ्ने र सोच्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ । यसलाई सही रूपमा हेरिदिए धेरै समस्या समाधान हुन्छन् । हामीले प्यासेन्जर सेग्मेन्टको सवारी २५ अर्बको मगाउँछौं होला तर त्यसको राजस्वचाहिँ झन्डै ८० अर्ब बुझाउँछौं । २५ अर्ब व्यापार घाटाका रूपमा हेर्ने तर ८० अर्ब रुपैयाँ राजस्व उठेको नहेर्ने ? यो त आवश्यकताको वस्तु हो । पछिल्लो तथ्यांकअनुसार नेपालीको खर्च गर्ने क्षमता १६ प्रतिशतले बढेको छ । बढेको क्षमताले इच्छा लागेको सामान किन्ने हो । सक्नेले बाइक किन्छ, अझै सक्नेले गाडी किन्छ । स्वतन्त्रताको कुरा पनि हुन्छ ।
पछिल्लोपटक व्यापार घाटा न्यूनीकरण कार्यदिशा आयो । अटोमोबाइल्स आयातमा टीआर कर्जा नै नदिने भन्ने कुरा भयो । लोन–टु–भ्यालु रेसियोलाई घटाउने कुरा भयो । यसबारे अर्थमन्त्री, उद्योगमन्त्री, गभर्नर सबैलाई भेट्यौं । यो क्षेत्रलाई नकारात्मक रूपमा हेरियो भने भोलि धराशायी हुन सक्ने परिस्थिति आउन सक्छ भन्ने कुरा राख्यौं । जनताको क्रयशक्ति बढेको छ । यो क्षेत्रलाई विशेष रूपमा हेर्न जरुरी छ । रेखदेख पनि गर्न आवश्यक छ । यसले गरेको व्यवसायमा विविधीकरण, राजस्वमा योगदान र रोजगारी सबैलाई एकै ठाउँमा राखेर हेरिनुपर्छ ।

अर्थतन्त्र चलायमान बनाउने मेरुदण्ड

सौरभ ज्योति
पूर्वअध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
नेपालीको क्रयशक्ति केही बढे पनि हाम्रो जीडीपी तल छ । संसारकै सबैभन्दा न्यून आय छ । जब हामी अटोमोबाइल्सको कुरा गर्छौं, भन्सार दर उच्च छ । गाडीमा कति सय प्रतिशत कर लाग्छ, मैले हिसाब राख्नै छोडिसकेँ । मोटरसाइकलको पनि एक सय प्रतिशतभन्दा बढी छ । भारतमै हेर्‍यौं भने त्यहाँको पूरा अटोमोबाइल्स उद्योग संकटमा छ । त्यही ट्रेन्ड नेपालमा देखिन्छ । सवारी साधन आवश्यकता हो की विलासिता भनेर बारम्बार कुरा उठाइरहेका छौं । सर्वसाधरणसँग सवारी साधन छैन भने देशको क्षमता कसरी बढ्छ ? देशमा उत्पादन कसरी हुन्छ ? आफ्नो गाडी, मोटरसाइकल छोडेर कहीँ जानुपर्‍यो, सामान ओसारपोसार गर्नुपर्‍यो भने देशको अर्थतन्त्र कसरी चल्छ ? देशलाई नै तीव्र गतिमा अगाडि बढाउने अटोमोबाइल्स क्षेत्रले हो । हामी मान्छौं, मास ट्रान्सपोर्ट सिस्टम हुनुपर्छ । हामीले दिएको राजस्वबाटै सडक निमार्ण, सडक विस्तार हुन सकेको छैन, अब सब–वे आउने, ठूला बस आउने भनिएको छ । ठूलो बस मात्र भएर भएन, त्यहीअनुसार पूर्वाधार पनि चाहियो । सार्वजनिक सवारीको पूर्वाधार नभएकाले अहिले मोटरसाइकल वा गाडीबाहेकको विकल्प देखिएको छैन । त्यसैले हामी भन्छौं कि यो विलासिता आवश्यकताकै वस्तु हो । देशको अर्थतन्त्र चलाउने एउटा मुख्य मेरुदण्ड हो । त्यसैले भन्सार दरहरू घटाउनुपर्‍यो । सबैभन्दा बढी राजस्व तिर्ने क्षेत्र अटोमोबाइल्स हो । अरू क्षेत्रले त्यति राम्रो गरिहेका छैनन् । त्यसैले यसबाट राजस्व आएन भने हाम्रो बजेटदेखि लिएर सबै क्षेत्र असर पर्छ ।

राजस्वले मात्र आयात घटेको होइन

निर्मलहरि अधिकारी
राजस्व महाशाखा प्रमुख
अर्थ मन्त्रालय
शासन व्यवस्थाको संरचनामा परिवर्तन भए पनि हामी उदार अर्थतन्त्रकै धारमा छौं । मुलुक निजी क्षेत्रमै विश्वास गरेर हिँडेको छ । अर्थतन्त्रमा निजी क्षेत्रको दुई तिहाइ सहभागिता छ । निजी क्षेत्रबिना मुलुकको समृद्धि सम्भव छैन । गत वर्ष र चालु वर्षको बजेटले धेरै कर बढायो भन्ने कुरा अलि बढी नै अफवाह भएको हो । एक दशकयता मूल्य अभिवृद्धि कर (भ्याट) को दर १३ प्रतिशत छ । बढाइएको छैन । आय करको दरमा सामान्य संरचना मिलाइएको मात्र छ । भन्सारका दरहरूमा खासै परिवर्तन छैन । औद्योगिक संरचनाको विषयलाई छाडेर १५ र २५ प्रतिशतलाई १०, २०, ३० गरेर मिलाइएको हो । गत वर्षबाट हामी वित्तीय संघीयता कार्यान्वयनमा गयौं । प्रदेश र स्थानीय तहले पनि कर लगाउनु स्वाभाविक हो । केही कर दोहोरिएको जस्तो देखियो, केहीमा वृद्धि पनि भएको देखियो । संसदीय सन्दर्भ फेरिएको मात्र हो, करको कारोबारमा समस्या देखिएको होइन ।
यो वर्ष हामीले आयातमुखीबाट उत्पादनमुखी, मुलुकलाई आन्तरिक कारोबारमुखी अर्थतन्त्रतिर लाने गरी करको संरचनात्मक परिवर्तन गरेका छौं । यो वर्ष करको दर स्थिर छ । केही सामान मुलुकमै उत्पादन हुन्छन्, तिनलाई औद्योगिक संरक्षण चाहिन्छ भनेर औद्योगिक संरक्षण दियौं । आयातित वस्तुले बजार नलिओस्, मुलुककै औद्योगिक वस्तुले बजार लिओस् भन्ने सरकारको सोच हो । केही विलासिता र जनस्वास्थयलाई हानिकारक वस्तुहरूमा र अनुपत्पादनशील वस्तुको आयातमा केही कर वृद्धि गरिएको छ ।
कच्चा पदार्थमा भन्सार धेरै घटायौं । मेसिनरीमा केही छुट दिएका छौं । निर्यात उद्योग २० प्रतिशतभन्दा बढी निर्यात गर्न तयार भए वन्डेड वेयर हाउसको सुविधा दिने भनेर घोषणा भएको छ । नीतिमा हामी ठीक छौं । कार्यान्वयनमा केही समस्या छन् । तिनलाई क्रमशः समाधान गरेर लैजान सकिन्छ । पेट्रोलियम पदार्थ ठूलो मात्रामा आयात हुन्छ । गत वर्ष १४ खर्ब १८ अर्ब बराबरको आयात भएछ । योपटक आयात वृद्धि १० प्रतिशतले घटेको छ । पोहोर २४ प्रतिशतको वृद्धि थियो । योपटक समग्र आयातको वृद्धि नै घट्यो । यसभित्र अटोमोबाइल्सको आयात पनि घटेको सत्य हो तर वृद्धि नै नभएको होइन । अटोमोबाइल्सको क्षेत्रबाट ८३ अर्ब राजस्व लियौं । पेट्रोलियम पदार्थको आयात २ सय १० अर्ब बराबरको छ, जसमा हामीले ६६ अर्ब राजस्व लिएको देखिएको छ । निजी सवारी साधनमा राजस्वको दर केही बढी हो, त्यो स्वीकार्य छ । व्यापार घाटा र भुक्तान असन्तुलनका आर्थिक परिसूचकलाई सन्तुलनमा राख्न पनि घटाउन सकिन्छ । राजस्वको दरले मात्र गाडीको आयात घटेको चाहिँ होइन । सडक यातायातको चाहिँ पूर्वाधारमा रहने हो भने २/४ वर्षपछि राजस्व दर नै घटाए पनि सोचेअनुरूपको बिक्री हुने छैन । जामको समस्या छ । अर्कोतिर सडक यति साँघुरो भइसक्यो, अब गाडीलाई प्रश्रय दिने हो भने मान्छेको चहलपहल नै हुँदैन । खरिदका लागि सर्वसाधारणको आम्दानी बढ्नुपर्छ । यसका लागि सडक बनाउने, विस्तार गर्ने कुरामा सरकारले सम्बोधन गर्न जरुरी छ । गाडी विलासिताको साधन हो कि होइन भनेर सापेक्षतामा हेर्नुपर्छ । प्यासेन्जर भेहिकल र मास ट्रान्सपोर्ट भेहिकल कम होस् भन्ने सरकारी दृष्टिकोण हुन्छ । कार, जिप, भ्यानमा बढोस् भन्ने हो । दर बढी राख्नुको कारण कमाइ धेरै हुनेले मुलुकलाई अलिकति बढी राजस्व तिर्न अवसर पाऊन् भन्ने पनि हो । व्यापार घाटा असाध्यै बढेर गएको छ । लगभग १ सय अर्बको हाराहारीमा निर्यात गरिरहेका छौं, १४ सय अर्बको आयात गरिरहेका छौं ।
भुक्तान सन्तुलनलाई पनि सरकारले ध्यान दिनुपर्ने हुन्छ । विद्युतीय सवारी साधन अनुसन्धानकै विषय भयो । यसमा सरकारको दृष्टिकोण इन्धन आयातले व्यापार घाटा बढ्दै गयो भन्ने हो । जलविद्युत्को उत्पादन बढ्दै गएको छ । ग्यास र पेट्रोलियम पदार्थलाई विस्थापन गरी आयात प्रतिस्थापन गर्नुपर्छ । यसमा अध्ययन गर्न पनि जरुरी छ । भीसीटीएस, पान, ढुवानीमा भ्याटका कुरा बजारमा धेरै उठेका छन् । भीसीटीएसले अटोमोबाइल्सको पैठारीलाई असर गर्ने छैन । नीति नियम कार्यान्वयन गर्ने सम्बन्धमा सरोकारवालासँग राम्ररी छलफल गर्न सरकार तत्पर छ । समग्रमा मुलुकको आर्थिक समृद्धि र सडक पूर्वाधारको विकाससँगै नेपालको अटोमोबाइल्स दृष्टिकोणको भविष्य उज्वल देख्छु म ।

तरलताको बहानाले मर्का

कृष्णप्रसाद दुलाल
उपाध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
सरकारले व्यवसायलाई सहज बनाउने भनिरहेको छ । व्यवसायी मर्कामा परिरहेका छन् । पूर्वाधार तयार छैन, भौगौलिक अवस्था ख्याल गरिएको छैन । सम्बन्धित पक्षसँग छलफल नगरी कानुन बनाइन्छ । मान्छेलाई सोझ्याउने खालका नियम बनाइएका छन् । सामाजिक सुरक्षा ऐन पनि समस्याको रूपमै देखिन्छ । अनिवार्य प्यानको कुरामा पनि समस्या छ । यो लागू हुने/नहुने भनेर व्यवसायी अन्योलमा छन् । सडकको अवस्था भयावह छ । घरमा गाडी पुग्ने सडक छैन । जहाँ जाँदा हिलो टेक्नुपर्छ, धुलो खानुपर्छ ।
१५ वर्षदेखि विष्णुमती र वाग्मती कोरिडोर बन्न सकेको छैन । त्यो कसले बनाइदिने हो ? पुँजीगत बजेट खर्च हुन सकेको छैन । तरलताको कमी देखाएर न गाडी चढ्न दिइन्छ न घर किन्न दिइन्छ । बैंकलाई अर्को बैंक खोल्न ऋण दिनेबाहेक अरू काम हुन सकेको देखिँदैन । संसारमा एक देश एक ट्याक्सको नीति आइसकेको छ । हाम्रो देशमा जतिवटा कार्यालय छन् सबै ट्याक्स उठाउने जस्ता मात्र छन् । एउटा उद्योग खोल्नुपर्‍यो भने विभिन्न कार्यालय पुगेर दर्ता गर्नुपर्छ । हरेक वर्ष नवीकरण गर्नुपर्दा सबैलाई भेट्नुपर्छ । यस्तो अवस्थामा कसरी व्यवसाय गर्न सकिन्छ ?

नीतिगत स्पष्टता आवश्यक

रितु वैद्य
वैद्य अर्गनाइजेसन

 

सरकारले अटोमोबाइल्सका लागि बनाउने नीतिले समस्या छ । नयाँ नयाँ नीति आइरहेका हुन्छन् । युरो २ बाट युरो ३ मापदण्ड आजको भोलि लागू भयो । यस्तो अवस्थामा एउटा उद्योग वा संस्थाले कसरी आफ्नो योजना बनाउन सक्छ ? यसलाई सरकारले हेरिदिनुपर्छ । यहाँ विद्युतीय सवारी साधनको कुरा आइरहेको छ तर चार्जिङ स्टेसन कहाँ राख्ने ? उत्पादन हाम्रो आफ्नै छैन । हामी एउटा ट्रेडिङ हाउस हौं । कहीँबाट उत्पादन ल्याएर बेच्छौं । पूर्वाधार तयारी त्यो पहिलो विषय हो । यसमा सरकारको ध्यान जाओस् । समस्या धेरै छन् । यसमा कसरी अगाडि बढ्ने भन्ने बुझन जरुरी छ । निजी क्षेत्रले आफ्ना समस्याहरूलाई आफ्नै तरिकाले समाधान गर्छ । यहाँ नसोचेका, आशा नगरेका समस्या आउँछन् । यसलाई सरकारले ध्यान दिनुपर्छ।

अटो सो गर्न ठाउँकै समस्या

निराकर श्रेष्ठ
कार्यक्रम संयोजक
नाडा अटो सो–२०१९
नाडा अटो सो चिनाइराख्नुपर्ने इभेन्ट होइन । नेपालमा नाडा अटो सो टप इभेन्टका रूपमा गनिन्छ । हामीले नाडा अटो सोलाई यो वर्ष संख्या र गुणस्तरका हिसाबले पनि केही सुधार गरेका छौं । अटो सोमा सधैं ठाउँकै समस्या हुन्छ । ४/५ वर्षयता ठाउँको समस्या झेल्दै आइरहेका छौं । मेलामा सहभागी हुने ब्रान्डहरूको संख्या बर्षेनि बढ्दो छ । कुनै वर्ष घटेको देखिए पनि समग्रमा ब्रान्ड र अवलोकनकर्ताको संख्या बढेको छ । गत वर्ष ६५ हजार थिए, यो वर्ष ७५ हजारले मेला अवलोकन गर्ने अनुमान छ । गत वर्ष ७१ वटा ब्रान्ड थिए भने यो वर्ष ९५ सहभागी हुँदै छन् । यति ठूलो उद्योगको वर्षमा एउटा इभेन्ट हुन्छ । त्यसका लागि उपयुक्त ठाउँ पनि छैन । हामीले गुणस्तर सुधार्न हरेक वर्ष केही न केही नयाँ गर्दै आइरहेका छौं । प्रत्येक वर्ष मेला हुने ठाउँको शौचालयसम्म सफा गर्नुपर्ने बाध्यता छ । एक वर्षपछि मेला गर्दा शौचालयको अवस्था उस्तै हुन्छ । ठूलो क्षेत्रलाई इभेन्ट गर्ने छुट्टै ठाउँ बनाउन सके यसको गुणस्तर बढ्ने थियो, कार्यक्रम गर्न सजिलो हुने थियो ।


विद्युतीयबारे स्पष्ट नीति ल्याओस्

आकाश गोल्छा
गोल्छा अर्गनाइजेन
अटोमोबाइल्स आवश्यकता हो, न कि विलासिता । यहाँको सार्वजनिक यातायात व्यवस्थित छैन । त्यसैले व्यक्तिगत सवारीको आवश्यकता छ । आज मान्छेले किन काम गर्छ ? राम्रो घर, गाडी होस् भनेर । गाडीलाई नकारात्मक रूपमा हेरिएको छ तर यसैले राम्रो राजस्व तिरिरहेको छ । गाडीमा गर्ने लगानीमा जोखिम हुनु हुँदैन । गाडी बिक्री घटेपछि भारतले पनि कर घटायो ।
गत वर्षको दसैंपछि यहाँ पनि गाडी बिक्रीमा कमी आएको छ । दसैंपछि तिहारका बेला फाइनान्सका लागि ५० प्रतिशत तिर्नुपर्ने भो । यो वर्ष दसैं आउनुभन्दा अघि नै फाइनान्सहरू कडा छन् । आधिकारिक बिक्रेताले मात्रै गाडी आयात गर्न पाउने प्रावधानको कार्यान्वयन पनि खुकुलो भएको जस्तो छ । यसलाई कडाइ गर्नुपर्छ । विद्युतीय सवारी साधनको प्रयोग बढाए पेट्रोल प्रयोग नहुने र हाम्रो मुद्रा नबिदेसिने भनिँदै छ तर यसको अर्को पाटो पनि छ ।
१२/१३ लाख रुपैयाँको गाडी विद्युतीय भए ३२ लाख रुपैयाँसम्मको हुन्छ । यो २० लाख रुपैयाँको पट्रोल गाडीले जीवनभरि प्रयोग गर्दैन । हामीलाई वातावरण नचाहिने होइन, चाहिन्छ । सरकारले ब्याट्री डिस्पोजको नीति पनि बनाउनुपर्छ । कम्पनीले यहाँको नीतिबारे सोच्छ, हामीसँग कुनै सिस्टम छैन । सरकारले विद्युतीय सवारीसम्बन्धी नीति बनाओस् ।

विद्युतीय सवारीमा हतार

सन्दीप सारडा
सारडा ग्रुप
सरकारले युरो ४ मापदण्ड लागू गर्ने भनेको पनि ६ महिना भइसक्यो । कहिले आउने हो, स्पष्ट छैन । धेरै मानिस युरो ४ का लागि प्रतीक्षामा छन् तर सरकार तयार छैन । कुनै पनि ठाउँमा हामीले ५ महिना अगाडि नै अर्डर दिनुपर्छ । हामीले अर्डर दिएकै बीचमा नियम लागू भए कसरी भित्र्याउने ? जुनै गाडी आउँदा पनि कम्तीमा एक वर्षको समय दिनुपर्छ ।
अहिले विद्युतीय सवारीको चर्चा भइरहेको छ । सरकारले चालेको कदम एकदम राम्रो हो । हामी वातावरणका लागि सचेत छौं । मलाई लाग्छ, विद्युतीय सवारीको हकमा सरकारको अध्ययन कम छ । नीति हतारमा ल्याइएको जस्तो लाग्छ । बिजुलीमा हामी आउने वर्ष आत्मनिर्भर हुन्छौं । त्यो बिजुली कहाँ बेच्नेभन्दा विद्युतीय सवारीमा खपत गर्ने सरकारको सोच भएजस्तो देखिन्छ । म यसका लागि निकै उत्साहित छु । अहिले विद्युतीय सवारी भने महँगो छ । यसमा सरकारलाई केही फाइदा छैन । आयातबाट हुने राजस्व र अनुदानको भरमा देश चलेको छ । हामीकहाँ ज्यादै सीमित व्यवसाय छन् । राम्रा बाटा छैनन् । यस्तो देशले युरोप, अमेरिकासँग बराबरी गरेर हुन्छ ? युरोपसँग प्रशस्त आयस्रोत छ । चार्जिङ स्टेसन छन् । उनीहरूले आफ्नो उत्पादन प्रयोग गरिरहेका छन् । नेपालमा त्यस्तो केही छैन ।
हामीले विद्युतीय सवारीमा गर्ने लगानी बराबरको तेल आयात हुँदैन । वातावरण सुधार्ने र संरक्षण गर्ने धेरै बाटा छन् । अहिले २–४ वटा ब्रान्डका विद्युतीय सवारी आइरहेका छन् । ठूला ब्रान्डको अत्तोपत्तो छैन । विद्युतीय भन्दैमा जे पायो त्यही ल्याउने हो ? गहन अध्ययन गरेर मात्रै नीति ल्याउनुपर्छ ।

विद्युतीय सवारीमा उपलब्धि

करण चौधरी
सीजी मोटोकर्प
हाम्रो र अन्य देशको बजार कस्तो छ, मैले सानो अनुसन्धान गरेको छु । गत आर्थिक वर्ष प्यासेन्जर भेहिकल १८ हजार ५ सय ५६ वटा आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको आयात संख्या १८ हजार ६ सय ९० छ । अर्थात् आयातमा कमी आएको छ । मास ट्रान्सपोर्टमा भने १० दशमलव १ प्रतिशतले वृद्धि भएको छ । यस हिसाबले हेर्दा मास भेहिकल प्रोत्साहन भएको हो कि भन्न सकिन्छ । विद्युतीय सवारी आयातमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा २ सय ५९ वटा आयात भएको छ । अघिल्लो वर्ष ३० वटा मात्र आयात गरिएको थियो । एक वर्षमा यति धेरै वृद्धि हुनु ठूलो उपलब्धि हो । अहिले कुल सवारीमध्ये १.४ प्रतिशत हिस्सा विद्युतीय सवारीको छ । यसको श्रेय अर्थ मन्त्रालय र यसले लिएको नीतिलाई जान्छ । विद्युतीय सवारी नर्वेमा सबैभन्दा धेरै ५९.२ प्रतिशत, त्यसपछि स्विडेनमा छ ६.३ प्रतिशत, नेदरल्यान्डमा २.७ प्रतिशत छन् । चीनलाई हामी विद्युतीय सवारीको ठूलो बजार भन्छौं तर त्यहाँ २.२ मात्र विद्युतीय सवारी छन् । बेलायत, फ्रान्समा विद्युतीय सवारीका हिस्सा १.७ प्रतिशत जति मात्रै छ । नेपालमा विद्युतीय सवारीका लागि पूर्वाधार खोई ? अर्थ मन्त्रालयले गाडी आयातका लागि सहुलियत दिएको छ तर पूर्वाधार बन्ने कहिले ? सुरक्षाको मापदण्ड छैन ।

गहन अध्ययनपछि मात्र नीति

अभिक ज्योति
नेपाल जनरल मार्केटिङ
सरकारले तयारी नगरी नीति ल्याउँछ । यो वर्ष यातायात विभागले वर्कसप दर्ता हुनुपर्ने नीति ल्याएको छ । घरेलु उद्योग, कम्पनी र राजस्वमा दर्ता गराउनुपर्ने प्रावधान छ । एउटा वर्क सप खोल्नलाई यति दुःख खेप्नुपरेपछि व्यवसाय गर्न गाह्रो हुन्छ । तराईको जमिन समथल हुने भएकाले सानो सीसी र पहाडमा ठूलो सीसीका गाडी चाहिन्छन् । त्यसैले सरकारले सीसीअनुसार कर नलगाएको राम्रो हुन्छ । भर्खरै प्रदेश ३ मा नयाँ सवारी करसम्बन्धी एउटा विषय उठेको छ । हाम्रो लाइसेन्स लिन ८/९ महिना लाग्ने तर जरिवाना भोलिपल्ट देखि नै लाग्ने नीति सार्वजनिक भएको छ । केन्द्रले मात्र नभई प्रदेशले पनि नीति नियम अचानक लागू नगरी जनतामा कस्तो प्रभाव पर्छ भन्ने विषयमा सोच्नुपर्छ । मन लाग्यो लागू गर्ने र पछि समस्या खेप्नुपर्ने भइरहेको छ । भीसीटीएस राजस्व अनुसन्धानले लागू गर्‍यो । जब कि राजस्व विभागले अटोमोबाइल्स सेक्टरलाई कम्प्युटराइज्ड बिलिङ गर्नुपर्छ भनिरहेको छ र गरिरहेका छौं । एउटा कम्प्युटराइज्ड बिलिङ गर्नपर्ने र अर्को भीसीटीएसमा दर्ता गर्नॅपर्ने । किन दुइटा सिस्टम ? मलाई लाग्छ, मन्त्रालयहरूबीच पनि समन्वय भइरहेको छैन ।
हेल्मेटको गुणस्तरसम्बन्धी नीतिको पनि चर्चा भएको थियो । नेपालमा गुणस्तरकै समस्या छ । नेपालमा हेलमेटमा गुणस्तर चाहिन्छ भनिन्छ तर टेस्टिङ प्रविधि छैन । कसरी लागू गर्ने ? त्यसैले नीति नियम ल्याउनुअघि गहन अध्ययन हुन जरुरी छ । एउटा नीति लागू गर्न अटोमोबाइल्स क्षेत्रको व्यवसायीलाई ६ महिनादेखि १ वर्षसम्मको समय चाहिन्छ । यो आज भाषण, भोलि नै लागू गरिने बजेटजस्तो होइन ।

ट्राफिक लाइट नहुनु लाजमर्दो

रविकुमार पौडेल
प्रहरी उपरीक्षक (एसपी), महानगरीय ट्रफिक प्रहरी महाशाखा
काठमाडौंमा १२ लाख सवारी साधन गुड्छन् । त्यसका लागि ६ हजार किलोमिटर मात्र सडक छ । हामी प्रविधिमैत्री पनि छैनौं । हामीसँग सामान्य एउटा ट्राफिक लाइट पनि छैन । यो लाजमर्दो कुरा हो । ट्राफिक प्रहरी आफैं बसेर जाम व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । जति सवारी साधन बिक्री हुन्छ, त्यति नै ट्राफिक बढ्छ । यहाँ ट्राफिक व्यवस्थापनको काम ट्राफिक प्रहरीको मात्र हो भन्ने मानसिकता छ तर यो होइन ।
सडक पूर्वाधार राम्रो छैन । लाइट, राङरोगन छ्रैन । ०७५/०७६ मा मात्र देशभर २८ सयजनाको सडक दुर्घटनामा परेर ज्यान गयो । यो ठूलो संख्या हो । काठमाडौंमा मात्र २५४ जनाले ज्यान गुमाए । कमसेकम गाडी किन्ने व्यक्तिले लाइसेन्स लिएको छ कि छैन भन्ने कुरा बिक्री गर्ने पक्षले हेरिदिन जरुरी छ । यसबाट ऊ ड्राइभर हो कि होइन भन्ने निर्क्योल हुन्छ । उसले सहज रूपमा गाडी गुडाउन सक्छ सक्दैन, थाहा हुन्छ । काठमाडौंमा सबैभन्दा ठूलो समस्या पार्किङको छ । कतै गए पार्किङ गर्न पाइँदैन । कमसेकम एउटा गाडी पार्किङ गर्ने ठाउँ हुने गरी घर बनाउनुपर्छ । काठमाडौंमा सकेसम्म ठूलो आवाज आउने मोटरसाइकललाई रोकेका छौं । त्यस्ता मोटरसाइकललाई व्यवसायीले पनि काठमाडौंभित्र रोकिदिए ध्वनि प्रदूषण कम हुने थियो ।

प्रस्तुति : विमल खतिवडा र नुमा थाम्सुहाङ

Page 29
अटो अर्थतन्त्र

हात जोडेर प्रदर्शनीमा बोलायौं

पहिलो अटो सो
- किरण वैद्य

म ०५३ देखि ०५५ सालसम्म नाडाको अध्यक्ष थिएँ । हामीले विभिन्न देशमा अटोमोबाइल्सको प्रदर्शनी देख्थ्यौं । हाम्रोमा पनि गरौं भन्ने सोच आयो । ०५४ सालमा पहिलोपटक मेला गर्‍यौं । पहिलो नाडा प्रदर्शनी पनि भृकुटीमण्डपमै गरेका थियौं । हाम्रो कार्यालय अनामनगरको एउटा घरमा भाडामा थियो ।
त्यति बेला प्रदर्शनीमा सहभागिताका लागि अहिलेजस्तो तँछाडमछाड थिएन । हामीले विभिन्न ब्रान्डलाई सहभागी भइदिनुपर्‍यो भनेर हात जोडेर अनुरोध गरेका थियौं । अहिले प्रदर्शनीमा सहभागी हुन चाहनेका लागि ठाउँ उपलब्ध गराउन पनि गाह्रो पर्छ । त्यो बेला हामीले प्रदर्शनी यस्तो होला भनेर सोचेको पनि थिएनौं । पहिलो प्रदर्शनीमा १२–१३ वटा ब्रान्ड मात्रै सहभागी थिए । अहिलेको जस्तो सुविधा थिएन । सामान्य खालको टेन्ट गाडेर प्रदर्शनी गरेका थियौं । अवलोकनकर्ताका लागि १० रुपैयाँको टिकटको व्यवस्था गरेका थियौं ।
गाडीलाई विलासिताको साधन भन्ने चलन थियो । काठमाडौंमा अहिलेको जस्तो गाडी थिएन । यो गाडी कुन साहुको हो भनेर चिनिन्थ्यिो । तर अहिले अवस्था फेरिएको छ । मध्यमवर्गका लागि गाडी आवश्यकता बनिसकेको छ । अटोमोबाइल्स उद्योग नेपालमा धेरै अघि बढिसकेको छ । सार्वजनिक र निजी सवारी धेरै थपिए । त्यो बेला मोटरसाइकल पनि जापानबाट मात्रै आउँथ्यो । भारतबाट आउन थालेको १५–१६ वर्ष भयो ।
गाडीमा धेरै मानिसको रुचि नभएकाले पनि पहिला मेला हेर्न आउने थोरै थिए । गाडीका ब्रान्ड पनि सीमित थिए । तर अहिले प्रदर्शनीका लागि ठाउँ सानो भइसकेको छ । अर्को प्रदर्शनीस्थल बनाउनुपर्ने भइसकेको छ । प्रदर्शनीस्थल अरूका लागि आवश्यक छ । सरकार आफैंले नबनाए पनि निजी क्षेत्रलाई निर्माण गर्न दिन सकिन्छ । प्रदर्शनी स्थल आम्दानीको स्रोत पनि हुन्छ । १० वर्षमा लगानी उठ्छजस्तो लाग्छ । प्रदर्शनीस्थल चोभारमा बनाउने भनिए पनि अगाडि बढ्न सकेन जुन कुराले दुःख लागेको छ । विदेशमा दैनिक जसो फरक–फरक वस्तुको प्रदर्शन भइरहेको हुन्छ । प्रदर्शनीका लागि छुट्टै ठाउँ बनाइएको हुन्छ । नेपालमा किन ढिलासुस्ती भएको हो, थाहा छैन । म अध्यक्ष रहेका बेला संस्थामा करिब १ सय सदस्य थिए होलान् । अहिले ५/७ सय पुगिसके ।
मेला सुरु गर्दा अटोमोबाइल्सको यति ठूलो बजार होला भनेर सोचेका थिएनौं । ८/१० वर्षयता अटोमोबाइल्समा धेरै राम्रो हुँदै गएको छ । मुलुकमा राजस्व संकलनको दोस्रो ठूलो आधार अटोमोबाइल्स भएको छ । अहिले अटोमोबाइल्सको क्षेत्र फराकिलो बनेको छ । अब त विद्युतीय सवारी साधनको जमाना आइसक्यो । पहिलाजस्तो आयात गर्न गाह्रो छैन, सजिलो छ ।
त्यो बेला गाडी किन्न सक्ने क्षमता भएकाहरू मेलामा कम आउँथे । पहिला बैंकले त्यति सपोर्ट गर्दैनथियो । केही वर्षयता बैंकले पनि सपोर्ट गर्न थालेपछि प्रयोगकर्ता बढे । अटोमोबाइल्स र हाउजिङले गर्दा नै बैंकहरू बचिरहेका हुन् । गाडी र हाउजिङ नभएको भए अर्थतन्त्रमा नराम्रो असर परिसक्थ्यो । यो हुँदाहुँदै पनि नेपाल राष्ट्र बैंकले दबाब दिएर सवारी ऋणका लागि ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने अवस्था छ । यसो हुनु हुँदैनजस्तो लाग्छ ।
अटोमोबाइल्सलाई प्रवर्द्धन गर्ने सरकारको इच्छा देखिँदैन । सवारीमा अत्यधिक राजस्व छ । अहिले त कुनै कुनैमा ३ सय प्रतिशतभन्दा बढी राजस्व तिर्नुपर्छ । विद्युतीय सवारीमा भने ८० प्रतिशतसम्म छुट दिइरहेको छ । यो राम्रो पनि हो । पछिल्लो ट्रेन्ड हेर्दा मास ट्रान्सपोर्टेसन प्राथमिकतामा परेको छ । यसलाई प्राथमिकता दिनैपर्छ । जनसंख्या धेरै बढिसकेको छ । सार्वजनिक सवारीलाई प्रवर्द्धन गर्नु नराम्रो होइन । व्यवसायीभन्दा पनि एउटा नेपाली नागरिकका रूपमा भन्नुपर्दा यो ठीक छ ।
सरकारले २० वर्ष पुरानो गाडी रोक्ने भनेकै १० वर्ष भइसक्यो । रोक्न सकेको छैन । जनसंख्या बढ्दै जाने, सवारी साधन बढ्ने तर सडकको अवस्था उही हुँदा समस्या छ । पूर्वाधार प्रयाप्त छैन । सरकार बोल्छ तर काम हँॅदैन । काठमाडौंको जनसंख्याअनुसार पूर्वाधार छैन । मान्छेको जीवनस्तर पनि परिवर्तन हुँदै गएको छ । देखासिकीले पनि गाडी चढ्ने बढेका छन् । काठमाडौंमा जनघनत्व बढिरहेको छ । मास ट्रान्सपोर्टेसनलाई त प्राथमिकता दिनैपर्छ ।
अहिले ७ वटा प्रदेश छन् । सबै प्रदेशमा सुविधायुक्त सहरहरू बनाएर काठमाडौंको जनघनत्व कम गर्नुपर्छ । जसका कारण यहाँको पूर्वाधारले थेग्ने जनसंख्या रहन्छ र अन्य क्षेत्रमा पनि पूर्वाधार निर्माण हुन्छ । सहरहरू हुँदा अटोमोबाइल्सको बजार पनि बढ्दै जान्छ ।
सरकारले नीति बनाएर जनसंख्या, पूर्वाधारलाई व्यवस्थित बनाउन जरुरी छ । पब्लिक ट्रान्सपोर्टेसनलाई प्राथमिकता दिनुपर्छ । किनकि सबैको गाडी किन्न सक्ने क्षमता हुँदैन । एउटै घरमा परिवारको संख्याअनुसार सवारीसाधन छन् । तर यो आवश्यक होजस्तो लाग्दैन । हामीले पूर्वाधार हेरेर पनि सवारी साधन किन्नुपर्छ । भूकम्पपछि गाडी किन्ने अझै बढे । त्यही भएर सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिनुपर्छ । मास ट्रान्सपोर्टेसन पनि विद्युतीय सवारी साधनमा गए धेरै राम्रो हुन्छ । नेपाल पर्यटनमा आधारित देश पनि हो । सवारी साधनले वातावरणमा प्रभाव परेको छ । बाटोघाटो राम्रो बनाएर विद्युतीय सवारी साधनलाई प्राथमिकता दिनुपर्छ ।
–कुराकानीमा आधारित

अटो अर्थतन्त्र

यातायातबिना दिगो आर्थिक वृद्धि असम्भव

- कान्तिपुर संवाददाता

उत्पादनमूलक उद्योग र व्यापार व्यवसायमा चर्चित घराना गोल्छा अर्गनाइजेसन अटोमाबोइल्स क्षेत्रमा पनि परिचित नाम हो । गोल्छा अर्गनाइजेसनका निर्देशक शेखर गोल्छा नाडा अध्यक्ष हुँदै हाल निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष छन् । गोल्छासँग अटोमोबाइल्स उद्योग र यससँग सम्बन्धित सरकारी नीति, निजी क्षेत्र, अर्थतन्त्रबारे गरिएको कुराकानीको सम्पादित अंश –

गत वर्षदेखि सवारी साधनको कारोबार, आयात घट्नुको कारण के होला ?
मुख्य कारण बजारमा रहेको तरलता अभाव हो । अटोमोबाइल्सको ब्यापार तरलतासँग एकदमै जोडिएको हुन्छ । बजारमा तरलताको कमी हुनेबित्तिकै अटोमोबाइल्सको क्षेत्रमा सिधै असर पर्छ । अहिले बजारमा तरलताको कमी रहेको छ । त्यसपछि यो तरलतालाई राष्ट्र बैंकले नियमहरू पनि लिएर आयो । बिक्री कम हुने समस्या झन् बल्झिएको छ । गत आर्थिक वर्ष पनि राम्रो वृद्धि हुन सकेन । दुई वर्षयता समस्याग्रस्त नै छ । अर्थतन्त्रको हिसाबले मात्र नभई सबैभन्दा बढी रोजगारी दिने क्षेत्र अटोमोबाइल्स नै हो । गत आर्थिक वर्षमा स्पेयर पार्टस, गाडी र पेट्रोलियम पदार्थको सहित हेर्ने हो भने ४० प्रतिशत सरकारको राजस्व अटोमोबाइल्स क्षेत्रबाट नै आएको छ । अटोमोबाइल्स क्षेत्रको वृद्धिले नै अति विकट क्षेत्रहरू मुख्य अर्थतन्त्रमा जोडिएका छन् । उदाहरणका लागि हामी जुम्ला अति विकट भन्थ्यौं । अब जुम्लामा उत्पादन गरेको चामलदेखि स्याउसम्म हामीले खान पाएका छौं ।
त्यहाँका किसानले उत्पादनबाट लाभ लिन सकेका छन् । यो सबै अटोमोबाइल्स क्षेत्रको विकासले गर्दा भएको हो । जुन–जुन बजारमा अटोमोबाइल्स क्षेत्रलाई सर्वसाधरणहरूलाई पहुँच दिइन्छ, त्यहाँ आर्थिक दिगो वृद्धिदर राम्रो हुन्छ । मैले अटोमोबाइल्सको मात्र कुरा गरेको होइन, मोभिलिटीको पनि कुरा गरेको हो । कुनै न कुनै तरिकाले जब सर्वसाधरणको मोबिलिटी बढाइयो भने यसको असर अर्थतन्त्रमा आउँछ । किनकि यसले बजारहरूलाई पनि सहज बनाउँछ । जसले जे उत्पादन गरेको छ उसले मुख्य अर्थतन्त्रमा आफूलाई जोड्न सक्छ । यो हिसाबले हेर्ने हो भने नेपालमा अहिले यातायातको पहुँच हुने जनसंख्या निकै कम छ । सरकार यसलाई ट्राफिक जामसँग जोडेर नीति बनाउँछ । यसले झन् अर्थतन्त्रमा नकारात्मक असर पर्छ ।

बेला बेलामा राज्यले ल्याउने नीतिहरूमा उतारचढावपूर्ण हुन्छ, किन राज्यले यस्तो गरेको होला ?
यसमा २ वटा कारण छ । एउटा कारण काठमाडौंमा रहेको ट्राफिक जामको समस्या हो । हामी अहिले पनि पञ्चायतकालीन मनस्थिति छौं, कि काठमाडौं भनेकै नेपाल हो । यो मनस्थितिबाट बाहिर निस्किन सकेका छैनौं । काठमाडौंमा ट्राफिक बढ्दै जाँदा यसलाई महँगो बनाउन र करको भार बढाउनका लागि जहिले पनि हरेक वर्षको बजेटमा केही न केही हुन्छ । ट्राफिक समस्या काठमाडौंमा मात्र हो । बाहिर त सहज छ । अर्को कारण मुलुकको भुक्तानी सन्तुलनको अवस्था हो । यो चिन्ताको विषय पनि हो । अर्थमन्त्रीले पनि अटोमोबाइल्स क्षेत्रलाई भुक्तानी सन्तुलनसँग जोड्नुभएको छ । किनभने अहिले ७ महिनाका लागि मात्रै पुग्ने विदेशी विनिमय सञ्चिति छ । अरू देशको तुलनामा तुलनामा यो त्यति धेरै नराम्रो होइन । तर पनि घटिरहनु समस्या हो ।

समस्या त हुन् नि । यसमा सरकारले के विकल्प अपनाउन सक्छ ?
विदेशी विनिमय सञ्चिति बढाउन निर्यात बढाउनुपयो । रेमिट्यान्सलाई विकास गर्ने कुनै प्रणाली बनाउनुपर्‍यो । कसरी रेमिट्यान्समा सुधार गर्ने ?, कसरी प्रतिव्यक्ति रेमिट्यान्स बढाउने ? भन्नेतिर सोच्नुपर्‍यो । किनभने तुरुन्तै अन्य देशमा उद्योग राखेर हामी आत्मनिर्भर हुन सक्ने अवस्था छैन । इलम विकासमा ध्यान दिन जरुरी छ । नेपालमा औद्योगिक उच्पादनको सम्भावना रहेको छ । अनुदान दिएर कसरी निर्यात बढाउने भन्नेतिर सोच्नुपर्छ । अर्को वर्षदेखि हामी विद्युत् सञ्चितिमा जाँदै छौ । पहिला पानी अहिले ऊर्जा हाम्रा लागि ठूलो आधार हो । यसलार्ई कसरी प्रयोग गर्ने भन्ने विषय नीति निर्माताले सोच्न जरुरी छ ।
अर्कोतर्फ विदेशी लगानी भित्र्याउनुपर्छ । अहिले विदेशी लगानी घटेको छ । प्रतिबद्धता आए पनि वास्तविक विदेशी लगानी आउन सकिरहेको छैन । विदेशी लगानी आउन केही आधारभूत समस्याहरू अर्थतन्त्रमा छ । ट्राफिक समस्याका लागि पनि विकल्पहरू छन् । सरकारले गरेको छैन । अहिले पनि काठमाडौंको पूर्वाधार राम्रो छैन । सडकको अवस्था एकदम कमजोर छ । जुन हिसाबले काठमाडौंमा पूर्वाधार विकास हुनुपर्ने थियो, हुन सकिरहेको छैन । विष्णुमती, वाग्मती करिडोरको जुन रूपले विकास हुनुपर्ने, त्यो छैन । सबै मौसममा धूलो उड्छ । फ्लाई ओभर पनि भनेजस्तो छैन । कुरा गर्छौं, तर कुनै योजना बनाउन सकिएको छैन । सहरलाई फराकिलो बनाउने योजना अब ल्याउनुपर्छ । ट्राफिक एकातिरबाट समस्या त हो तर प्रगतिको सूचक पनि हो । किनभने धेरै गाडी गुडेको देख्दा हाम्रो अर्थतन्त्र चलायमान छ भन्ने देखिन्छ । मुख्य समस्या भनेकै पूर्वाधार हो । त्यही भएर टाफिकलाई हेर्ने दृष्टिकोण पनि फरक हुनुपर्छ । पूर्वाधार राम्रो भयो स्वतः आर्थिक विकास आफैं हुन्छ । हामीसँग खर्च गर्न सक्ने क्षमता र पूर्वाधारमा लगानी गर्नका लागि मनस्थिति पनि छैन । बरु पैसा बाँडेर सिध्याउँछौं, काम गर्दैनौं ।

सवारीको भन्सार दर बढाउने होइन, पूर्वाधारको विकास गर्नुपर्छ भन्ने हो ?
हो । अटोमोबाइल्स क्षेत्रमा कडाइ गरेर हुने होइन । काम गर्दै गएपछि एउटा मोटरसाइकल किन्छु, गाडी किन्छु, घर बनाउँछु, जीवनस्तर सुधार्छु भन्ने मध्यमवर्गीयको एउटा सपना हुन्छ । तैंले किन्न सक्दैनस् भन्दै रोकिदिने, मूल्य बढाइदिने गर्दा उसलाई काम गर्ने उत्प्रेरणा कसरी आउँछ ? सरकारको कामचाहिं यसलाई झन्झन् महँगो बनाउनेतिर गइरहेको छ । धेरै ट्राफिक जाम हुने क्षेत्रमा कर बढी लगाउने, सवारी साधन नभएका क्षेत्रमा कम लगाउने उपाय पनि सोच्नुपर्छ कि । म बच्चा हुँदाको एउटा अनुभव छ । वाग्मती अञ्चलमा अर्को अञ्चलबाट आएको सवारी साधनलाई थानकोटमा अलग्गै कर तिर्नुपर्थ्यो । दैनिक कर बुझाए पनि मात्रै काठमाडौं पस्न पाउँथ्यो । यो सबै काठमाडौंको ट्राफिक नियन्त्रण गर्नका लागि भएको थियो । पञ्चायतकालको कुरा हो, मेरो घरमा कोसी अञ्चलको गाडी थियो । काठमाडौं आउँदा छुट्टै कर लाग्थ्यो । म काठमाडौं पढ्थें । धेरै समय राख्दा बढी कर लाग्छ यसलाई फिर्ता लैजा भन्थे । अब सवारी साधनहरूको सन्तुलित विकासका लागि यस्तै नियमहरूमा फेरि सोच्ने कि ।

निजी क्षेत्रले पनि आयात गर्ने, निश्चित नाफा लिएर बिक्री गर्ने मात्र मानसिकता पालेको देखिन्छ । नेपालको अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र पनि उत्पादनतिर लाग्नुपर्ने हैन र ?
अटोमोबाइल्स नेपालमै उत्पादन गर्ने हो भने पहिलो चरण भनेको एसेम्बल नै हो । आफैं उत्पादन गर्ने उद्योग नेपालमा आएमा सहयोग गर्न जरुरी छ । भारतमा पनि त्यही भएको हो । एसेम्बल उद्योग प्रोत्साहन नगर्ने हो भने त्यसका अन्तरसम्बन्धित उद्योग कहिल्यै आउँंदैन । बाहिरतिर पनि हेर्ने हो भने सवारी साधनलाई चाहिने सबै सामग्री आफैं बनाउंँदैनन् । फरक–फरक कम्पनीले बनाउने हो । त्यस्ता सामग्री जोडेर कुनै कम्पनीले एसेम्बल गर्ने हो । यो कामका लागि पनि नेपालमा सरकारले सहुलियत दिएको छैन । सहुलियत दिने हो भने नेपालमा आउँछन् । सुरुमा एसेम्बल इन्डस्ट्री फस्टायो भने यससँग सम्बन्धित अन्य उद्योग आउँछन् । मोटरसाइकलका ३० देखि ४० प्रतिशत पार्ट्स नेपालमा बनाउन सक्ने क्षमता छ ।

एसेम्बल गर्छु भनेर भनेर आउन लागेको कोरियत कम्पनी मोट्रेक्सलाई आउन दिन हुन्न भन्ने तपाईहरू नै हैन ?
कोरियन कम्पनीले हामी मात्र बनाउंछौ । अरुलाई आउन नदेउ भनेको छ । कार्टेलिङ त उसले गर्न खोजेको छ । उसले दिएको प्रपोजलमा नेपालमा एउटाभन्दा बढी अर्को कम्पनी आउन सक्ने सम्भावना कम छ । १० वर्ष कुनै पनि कम्पनीलाई आउन नदिनुस्, सुविधा पनि बढाइदिनुस् भनेको छ । हामीले उसलाई काम गर्ने वातावरण बनाइदिनुस्, तर उसलाई मात्र दिएर हामीलाई नरोक्नुस् भनेका हौं । हामी पनि भोलि त्यही काम गर्न सक्छौं । उसले माग गरेका कुरा पूरा हुन सक्ने अवस्थामा छैनन् ।

सरकारले यो गरेन, त्यो गरेन भन्नुभयो । निजी क्षेत्र आफैंले सुधार गर्नु पर्ने विषयहरू पनि छन् । तपाइलाई त्यस्तो लाग्दैन ?
हामीले पनि सोच्नु पर्ने अबस्था छ, कसरी उत्पादन बढी भन्दा बढी गर्ने भनेर । स्वतन्त्र प्रतिस्पर्धाको कुरा छ । सेवाको कुरा गर्ने हो भने ५ बर्षयता निजी क्षेत्रले धेरै परिवर्तन गरिसकेको छ । मेरै कुरा गर्ने हो भने जुम्लामा सर्भिस स्टेशन राखेको छु । डोल्पामा सुरु गर्न लागीरहेको छु । त्यहां मोटरसाइकलको स्वरुम खुल्ने छ । निजी क्षेत्रले आफ्नो भूमिका निर्वाह गरीरहेकै छ । बजार ठूलो छ । किन्ने क्षमता बढेको छ । जसले गर्दा रराजस्व पनि बढेको छ ।

Page 30
अटो अर्थतन्त्र

प्राथमिकतामा प्रविधि

आधुनिक र उच्च प्रविधिजडित सवारी साधनको खोजी बजारमा बढ्दै गएको छ । बुटवलमा २० लाखदेखि २ करोड ५० लाख रुपैयाँसम्मका चारपांग्रे गाडी पाइन्छन् ।
- घनश्याम गौतम

बुटवलका पुराना व्यवसायी रवीन्द्रगोपाल लाकौल सात दशकअघि र अहिलेको यातायात सुविधालाई दाँज्दा सपनाझैं लाग्ने बताउँछन् । उनका अनुसार २००७ सालअघिसम्म बुटवलदेखि सुनौलीको बेलहिया नाकासम्म पैदल यात्रा गर्नुपर्थ्यो । ऊबेला बुटवलमा करिब १५ घर मात्रै थिए । स्थानीयकै जनश्रमदानबाट निर्माण गरिएको कच्ची बाटोमा २०२४ सालपछि गाडी चल्न थाले । त्यसले दुई देशसँगै पहाड र तराई पनि जोड्यो ।
अहिले बुटवल र आसपासमा १ लाख ५० हजारभन्दा बढी घर बनिसके । जंगल र खेतको बीचबाट निर्माण भएको बुटवल बेलहिया सडकका दुवै खण्ड घरैघर छन् । उतिबेलाको सिंगल सडक अहिले ६ लेनको बन्यो । सडक वारपार गर्न पक्की पुल थपिए । ‘सात दशकअघि दैनिक १/२ वटा गाडी चल्थे, अहिले अहिले दैनिक १०–१२ हजार गाडी ओहोरदोहोर गर्छन्,’ लाकौलले भने ।
बढ्दो जनघनत्व, कालोपत्रे सडक, व्यापारिक केन्द्रसँगै सडकमा दुई र चारपांग्रे गाडीको चाप बढेको छ । यसले सुविधा त दिएको छ नै नयाँ र महँगो मूल्यका सवारी साधन चढ्ने सोखिनहरूसमेत बढ्दै गएका छन् ।
बुटवलमा पछिल्लो १० वर्ष जग्गा कारोबार फस्टायो । जग्गा कारोबारले युवादेखि महिलासम्मलाई सोखिन र विलासी बनाएको छ । साइकल चढ्नेहरूले मोटरसाइकल चढ्न थालेका छन् । मोटरसाइकल चढ्नेहरू कारमा हुइँकिन थाले । सामान्य कार चढ्नेले महँगो र सुरक्षित कार खोज्न थाले । त्यसैमध्येमा पर्छन्, रूपन्देहीको गैंडहवा गाउँपालिका–४ का ३६ वर्षे डिलबहादुर कार्की । जग्गा कारोबारी उनी हुन्डाई कम्पनीको अल्टो चढ्दै आएका छन् । दैनिक दौडधुपमा हुने उनलाई परिवारले सुरक्षित गाडी चढ्न सुझाएको छ । बुटवल र भैरहवाका गाडी विक्रेताकहाँ पुगे पनि खोजेजस्तो गाडी नपाएको उनले बताए । ‘सकेसम्म सस्तो मूल्यमै सुरक्षित गाडी खोज्दै छु,’ उनले भने, ‘तर, भनेजस्तो फेला परेको छैन ।’ चारवटै सिटमा एयर ब्याग, ईबीडी, एबीएससहित आधुनिक प्रविधिजडित गाडीको खोजीमा आफू रहेको बताए ।
यस क्षेत्रमा भारत, चीन, कोरिया, जापान, मलेसियालगायतका देशमा निर्मित गाडीको बिक्री हुन्छ । सुजुकी, हुन्डाई, फोर्ड, किया, रिनल्ट, महिन्द्रासहित १६ कम्पनीका गाडीले बुटवल र भैरहवामा बिक्री केन्द्र खोलेका छन् । यस क्षेत्रमा सुजुकी, हुन्डाई र फोर्डले बिक्रीमा कब्जा जमाएका छन् । पछिल्ला वर्षहरूमा अन्य गाडीमा फनि ग्राहकको रोजाइ बढ्दो छ । हुन्डाईका आधिकारिक वित्रेता सिद्धिविनायक मोटर कर्पका म्यानेजर मनोजमान श्रेष्ठले पनि पछिल्लो समय ग्राहकले सस्तो मूल्यमा सुरक्षित गाडी खोजी गर्न थालेको बताए । त्योसँगै प्रविधिमा पोख्त नयाँ पुस्ता चारपांग्रे गाडीमा सोखिन बन्दै गएकाले आधुनिक र उच्च प्रविधिजडित गाडीको पनि खोजी हुन थालेको उनले बताए । ‘डबल एयर ब्यागबिनाको गाडी अब बिक्नै छोड्यो,’ उनले भने, ‘एयर ब्यागसँगै सेन्सर ब्रेक, आधुनिक प्रविधिको एबीएस, ईबीडी ब्रेकसहितका गाडीको खोजी हुन्छ ।’ सुरक्षा र धेरै फिचरको खोजी हुन थालेको उनले बताए ।
पछिल्लो समय जग्गा कारोबार खस्किएसँगै अटो मोबाइल्सको व्यापार सुस्ताएको व्यवसायीको दाबी छ । त्यससँगै वित्तीय नीतिले अप्ठ्यारोमा पारेको छ । व्यापार सुस्ताए पनि आसपासका सडकमा २० लाखदेखि झmन्डै २ करोडसम्मका गाडी बुटवलबाटै बिक्री हुने गरेका छन् । ल्यान्डत्रुजर, ल्यान्डरोभर गाडी चढ्ने व्यवसायी पनि बुटवलमै छन् ।
यातायात व्यवस्था कार्यालय लुम्बिनीमा साना चारपांग्रे सवारी साधन दर्ता गर्नेको संख्या बढ्दो छ । रहे पनि गत वर्ष घट्यो । आव ०७२ सम्म कार्यालयमा निजी जिप, कार र भ्यानको संख्या ६ हजार ९ सय ९३ दर्ता छन् । त्यसयता ४ वर्षमा १० हजार ५ सय ७१ दर्ता भए । यहाँ ४ हजारभन्दा बढी भाडाका कार र भ्यान छन् । २ हजार ३ सय ८३ भाडाका टेम्पो चल्छन् । कार्यालयका सूचना अधिकारी अष्टराज गौतमले पछिल्ला ४ वर्षमा निजी गाडी चढ्नेको संख्या धेरै बढेको बताए । उनले भने, ‘वाग्मतीपछि दोस्रो बढी गाडी दर्ता हुने लुम्बिनी यातायात कार्यालय नै हो ।’
आव ०७२ सम्ममा सानाठूला गरी २ लाख ६१ हजार ८ सय ६२ गाडी दर्ता भएकामा पछिल्ला ४ वर्षमा मात्र ३ लाख ४४ हजार ५ सय ६८ गाडी दर्ता भएको गौतमले जानकारी दिए । गत आवमा मात्र सानाठूला गरी १ लाख १० हजार ४ सय १ गाडी दर्ता भएका छन्, जुन अहिलेसम्मकै बढी हो । त्यसमा निजी मोटरसाइकल मात्र ९६ हजारभन्दा बढी छन् ।
बुटवलमा हुन्डाई, सुजुकी, फोर्ड, महिन्द्रालगायत चलेका कम्पनीले वर्षमा ५ सयसम्म निजी कार बिक्री गर्छन् । अन्य कम्पनीको पनि वार्षिक बिक्री १ सयसम्म छ । २० लाखदेखि २ करोड ५० लाख रुपैयाँसम्मका गाडी बुटवलमै उपलब्ध छन् । ग्राहकको रोजाइमा २५ लाखदेखि ६० लाख रुपैयाँका गाडी पर्ने गरेको सुजुकी ब्रान्डका गाडी बिक्री गर्दै आएका सगरमाथा अटोमोबाइल्सका प्रोप्राइटर श्याम बस्नेतले बताए । ‘प्रविधि र फिचर्सले गाडीमा ग्राहकको ध्यान तान्ने गरेको छ,’ उनले भने, ‘पहिला मूल्यमा बहस गर्ने ग्राहक अहिले प्रविधिमै चासो दिन्छन् ।’ मर्मत, पार्टसको उपलब्धता र प्रयोगपछिको मूल्यलाई पनि ग्राहकले प्राथमिकतामा राख्ने गरेको उनले बताए । इन्धन माइलेज, सञ्चार सुविधाको प्रयोग पनि ग्राहकको आकर्षणमा पर्छ ।
महँगो गाडी चढ्नेमा जग्गा कारोबारीसँगै प्रतिष्ठित व्यवसायी र बुटवलका नाम चलेका डाक्टर छन् । बुटवल, भैरहवा, मुर्गिया, तिलोत्तमा, देवदह क्षेत्रका व्यवसायीमा कार आकर्षण बढ्दो छ । पहाडी जिल्लामा समेत बाटो बिस्तार र कालोपत्रे भएकाले बढी ग्राउन्ड क्लियरेन्स भएका गाडीको खोजी हुने गरेको छ । अर्घाखाँचीमा मात्र झन्डै २ सय कार भाडामै चल्छन् । भैरहवाका युवा व्यवसायी रोशन चौधरी, बुटवलका धातानन्द कँडेल, गोपाल टण्डन झन्डै २ करोड मूल्यका गाडी चढ्छन् । तीनै जना जग्गासँगै इँटा, कपडा व्यवसायी हुन् । चौधरी फmोर्डको इन्डियवर चढ्छन् । कँडेलले ल्यान्डत्रुजर र टण्डन ल्यान्डरोभर चढ्दै आएका छन् । ‘सडक, समय र प्रविधिअनुसारका गाडी रोजाइमा पर्नु स्वाभाविक हो,’ चौधरीले भने, ‘सडक सुहाउँदो, सुरक्षित र नयाँ फिचर उपलब्ध भएको गाडी मेरो रोजाइ हो । चारपांग्रे सवारी साधनको व्यापार बढेसँगै बुटवलको कालिकानगरदेखि शंकरनगर मंगलापुरसम्म नै गाडीका सोरुम खुलेका छन् । त्यही क्षेत्रमै मर्मतसहित अन्य सामग्रीका पसल पनि खुलेका छन् । सडकका दुवैतर्फ महँगो भाडा तिर्ने गरी घरैपिच्छे सोरुम छन् । पार्टस, टायर र मर्मतका लागि खोलिएका पसलमा व्यापार चम्केको छ ।

अटो अर्थतन्त्र

कर्णालीमा दुईफांग्रे त्रेज

कर्णालीमा दुईपांग्रे सवारीको बजार बढेको छ । न्यून आय भएका व्यक्तिदेखि सम्पन्न व्यक्तिसमेत मोटरसाइकलप्रति आकर्षित छन् ।
- कलेन्द्र सेजुवाल

गुर्भाकोटका राजेश बीसी एक विद्यालयका निजी स्रोत शिक्षक हुन् । तलबले जेनतेन घर खर्च चल्छ । तैपनि हालै उनले सवा २ लाखको मोटरसाइकल किनेका छन् । ‘अलिकति पैसा जम्मा गरेको थिएँ, बाँकी किस्ता तिर्ने गरी निकालेको छु,’ उनले भने, ‘अहिलेको जमानामा मोटरसाइकल नभई नहुने रहेछ, झट्ट मूल्य सुन्दा महँगो लागे पनि किस्तामा किन्न खासै
गाह्रो रहेनछ ।’
राजेशजस्ता सामान्य आय भएका व्यक्तिका लागि मोटरसाइकल सुलभ साधन भएको छ । कच्ची सडक धेरै भएको कर्णालीमा यात्रा गर्न मोटरसाइकलको विकल्प पनि छैन । यसले गर्दा कर्णालीमा दुईपांग्रे सवारीको बजार निकै बढेको छ । न्यून आय भएका व्यक्तिदेखि सम्पन्न व्यक्तिसमेत मोटरसाइकलप्रति आकर्षित छन् । प्रदेश राजधानी सुर्खेतमा आधा दर्जन मोटरसाइकल कम्पनीका डिलर छन् । डिलरहरूका अनुसार कर्णालीका सडकमा करिब २७ हजार मोटरसाइकल गुडिरहेका छन् ।
कर्णालीको बजारमा १ लाख ५० हजारदेखि ११ लाखसम्मका मोटरसाइकल छन् । उपभोक्ताले गच्छेअनुसार ती मोटरसाइकल प्रयोग गर्छन् । पैसा हुनेहरूले एकमुष्ट भुक्तानी गरेर किन्छन् भने न्यून तथा मध्यम आय भएका उपभोक्ताले किस्ता (फाइनान्समार्फत) मा लिने गरेका छन् । कर्णालीमा सबैभन्दा बढी मोटरसाइकल बिक्री गर्ने बजाजको अधिकृत विक्रेता असीम अटो पार्ट्सका प्रबन्ध निर्देशक लक्ष्मण कँडेलका अनुसार एकमुष्ट भुक्तानी गरेर लानेभन्दा किस्तामा लाने ग्राहकको संख्या अधिक छ । कुनै ग्राहकले त ३६ महिने किस्तामा समेत मोटरसाइकल लैजाने गरेका उनले बताए । गत आर्थिक वर्षमा १ हजार ८ सय २० मोटरसाइकल बिक्री भएकामा ६० प्रतिशत किस्तामा गएका उनले बताए । ‘सबै मान्छेसँग मोटरसाइकल किन्ने एकमुष्ट रकम हुँदैन, त्यसैले किस्तामा लैजाने गरेका छन्,’ उनले भने, ‘मूल्य हेर्दा लाख पर्ने देखिए पनि किस्ताले सहज बनाइदिएको छ ।’ नियमित मासिक आम्दानी १५–२० हजार रुपैयाँ हुनेले पनि मोटरसाइकल सजिलै किन्ने गरेको उनले बताए ।
होन्डाको अधिकृत विक्रेता न्यू बुलबुले अटो सेल्सले गत आर्थिक वर्षमा करिब १ हजार २ सय मोटरसाइकल बिक्री गर्‍यो । सेल्सका प्रबन्ध निर्देशक भद्र भण्डारी सामान्य किसानदेखि ठूला व्यवसायीले समेत मोटसाइकल खरिद गरेका बताउँछन् । होन्डा कम्पनीका १ लाख ५० हजारदेखि ११ लाखसम्मका मोटरसाइकल बिक्री गर्दै आएको उनले बताए । एकमुष्ट रकम बुझाउन नसक्नेलाई किस्ता सुविधा भएकाले सहज भएको उनको भनाइ छ । सुर्खेतस्थित यातायात व्यवस्था सेवा कार्यालयको तथ्यांकले पनि कर्णालीमा दुईपांग्रे क्रेज कति छ भन्ने देखाउँछ । फागुन १ देखि सञ्चालनमा आएको कार्यालयमा पाँच महिना अवधिमा २ हजार २ सय २७ सवारी दर्ता भएकामा मोटरसाइकलको संख्या १ हजार ८ सय ६५ वटा छ । निमित्त कार्यालय प्रमुख अर्जुन पौडेलका अनुसार यो अवधिमा सरकारी तथा निजी गरी १ सय ७६ कार/जिप दर्ता भएका छन् । ‘कर्णालीको भूगोलले पनि मान्छेलाई कार/जिपभन्दा मोटरसाइकतिर बढी आकर्षित गरेको पाइन्छ,’ उनी भन्छन्, ‘जुनसुकै कामका लागि मोटरसाइकल नै बढी उपयोगी हुने गरेको छ ।’

अटो अर्थतन्त्र

पोखरामा बाक्लिँदै

- लालप्रसाद शर्मा

लाहुरेको बस्ती, पर्यटकीय केन्द्र, बैंकिङ हब, गण्डकी प्रदेशको राजधानी । पोखरालाई चिनाउने अनेक उपमा छन् । धनी र महँगो सहरसमेत मानिने पोखरा पछिल्लो समय महँगा र चिल्ला गाडी चढ्ने सहरका रूपमा परिचित हुन थालेको छ ।
अत्याधुनिक सुविधाजडित सवारी साधनको प्रयोगमा वृद्धि भएपछि ग्राहकलाई आफ्ना ब्रान्डप्रति आकर्षित गर्न सबै सवारी उत्पादक कम्पनी यहाँ आइपुगेका छन् । आसपासका जिल्लामा कच्ची सडक विस्तार भएकाले समेत यहाँ सवारी साधनको खपत बढेको छ । पोखराका सडकमा महँगा र अत्याधुनिक कार बाक्लै देखिन्छ । वातावरणमैत्री सवारी साधन पनि उल्लेख्य मात्रामा भित्रिएका छन् ।
अटो व्यवसायीका अनुसार पोखरामा वार्षिक २० अर्बको सवारी साधन किनबेच हुन्छ । अटोवेजका अध्यक्ष नारायण पौडेलले पोखरामा टोयोटा, आइसर, मारुती, सुजुकी, महिन्द्रा, टाटा, इसिजु, हुन्डाई, किया, निसानलगायत सबै कम्पनी र ब्रान्डका गाडी बिक्री हुने बताए । ‘बढ्दो पर्यटन व्यवसाय, पूर्वाधारलगायत विकास निर्माण, चलायमान अर्थतन्त्र, पोखरेलीको जीवनस्तर माथि उठेसँगै निजी गाडी चढ्ने लहर चलेको छ । यसले सवारी साधनको राम्रै कारोबार भएको छ,’ उनले भने । उनले पर्यटन क्षेत्रमा अत्याधुनिक सुविधायुक्त सवारी साधन प्रयोग हुन थाल्दा कारोबारको ग्राफ बढाएको बताए ।
पोखरामा १३ लाख मूल्यसम्मका मोटरसाइकलदेखि ३ करोड २५ लाख रुपैयाँसम्मका चारपांग्रे सवारी साधन बिक्री हुन्छन् । १० देखि १३ लाख मूल्यसम्मका मोटरसाइकलको बिक्री यहाँ राम्रै भइरहेको व्यवसायीहरू बताउँछन् । हालै मात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले साढे २ करोडमा ल्यान्डक्रुजर यहीँ किनेर चढिरहेका छन् ।
पछिल्लो समय सडकलगायत अन्य पूर्वाधार निर्माणको काम बढी हुन थालेकाले ठूला गाडी पनि राम्रै बिक्री हुने गरेको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष चन्द्र कुँवरले बताए । १ करोड हाराहारी मूल्य पर्ने डोजर, लोडर, टिपरको राम्रो हुने गरेको उनको भनाइ छ । पर्यटन क्षेत्रमा टोयोटाको हाइस गाडी बढी चल्छन् । सुजुकी, हुन्डाई, निसानलगायत कम्पनीका भ्यान, कार बढी पर्यटन क्षेत्रमा प्रयोग हुने गरेका छन् । पर्यटकीयलगायत विभिन्न व्यापार तथा ब्यवसायमा सफलता हासिल गरेका तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत व्यक्तिहरू निजी सवारी साधनतर्फ आकर्षित देखिन्छन् । रेमिट्यान्समा आश्रित र उपभोगमुखी सहर भएकाले यहाँका अधिकांश मानिसमा विदेश जाने, कमाउने, ल्याउने, घर बनाउने, गाडी गुडाउने प्रवृत्ति छ । वित्तीय संस्थाको उपस्थितिले पनि पोखरामा सवारी साधनको खपत बढाएको हो । पहिला बैंक तथा वित्तीय संस्थाले सवारी साधन खरिदमा ८० प्रतिशतसम्म ऋण दिन्थे । अहिले ५० प्रतिशतमा झरेपछि अटोको बजारमा केही कमी भने आएको छ ।

Page 31
अटो अर्थतन्त्र

बिमा गरे ढुक्क

कम्पनीले विभिन्न बहानामा कम वा ढिलो भुक्तानी गर्नेलगायत व्यवहार देखाउन सक्छन् । सबै प्रक्रिया पूरा भएपछि पनि आनाकानी गरे बिमा समिति वा अदालत जान सकिन्छ ।
- यज्ञ बञ्जाडे

निर्जीवन बिमामा आधाभन्दा बढी हिस्सा सवारी साधन बिमाको छ । गत आर्थिक वर्षको तथ्यांकअनुसार मुलुकभर निर्जीवन बिमाको आकार २३ अर्ब रुपैयाँ छ । कुल निर्जीवन बिमामा सवारीको हिस्सा धेरै भए पनि २ वर्षयता अपेक्षित विस्तार हुन सकेको छैन । सरकारले सवारी खरिद कर्जामा कडाइ गरेसँगै बजारमा सवारी साधनको किनबेच तथा आयात घट्दा बिमा पनि प्रभावित भएको हो । पछिल्ला वर्षमा सवारी बिमाको वृद्धिदर साँघुरो बन्दै गएको जानकारहरू बताउँछन् ।
सरकारले सिन्डिकेट खारेजको घोषणा गरेसँगै दुर्घटनामा परेका यात्रुले आवश्यकताअनुसार उपचार खर्च पाएका छैनन् । उपचार खर्च ३ लाख रुपैयाँ (बिमाको) भन्दा बढी नपाउने व्यवस्थाले उनीहरू मर्कामा परेका छन् । केही यात्रुले उपचार खर्च नपाएर वा उपचार खर्च भुक्तानी गर्न नसकेर अस्पतालमै लामो समय बस्नुपरेको छ ।

कसरी गर्ने बिमा ?
बिमा कम्पनीहरूले बजारमा धेरै एजेन्ट (सम्पर्क व्यक्ति) तोकेका हुन्छन् । ती व्यक्ति मार्फत आफ्नो सवारीको बिमा गर्न सकिन्छ । ग्राहकको सुविधाका लागि सवारी साधन बिक्री गर्ने कम्पनीले पनि बिमा कम्पनीसँग ग्राहकको सम्पर्क गराउने गर्छन् । बिमा यही समयमा गर्नुपर्छ भन्ने हुँदैन । तपाईंले सवारी साधन खरिद गरेपछि बिमा गर्नैपर्छ । सामान्यतया कम्पनीहरूले पूर्ण र तेस्रो पक्ष गरी दुई प्रकारका बिमा गरेको पाइन्छ । कानुनले तेस्रो पक्ष बिमा अनिवार्य गरेको छ । यसकारण सबै सवारीधनीले तेस्रोपक्ष बिमा गर्नैपर्छ । बिमा समितिले धेरै वर्षअघि यो व्यवस्था गरेको हो । पछिल्ला वर्षमा बहुसंख्यक सवारी साधनको तेस्रो पक्ष बिमा भएको पाइन्छ । पूर्ण बिमा भने अनिवार्य छैन । यो सवारीधनीको इच्छामा भर पर्छ ।
बिमा गरिएको सवारी साधनसँग सम्बन्धित तथा त्यस्तो सवारी साधनमा यात्रा गर्ने व्यक्तिबाहेक अन्य बाहिरी व्यक्ति वा सम्पत्ति समेटिएको बिमालाई तेस्रो पक्ष बिमा भनिन्छ । उदाहरणका लागि सडकमा गुडिरहेको सवारी साधन दुर्घटना हुन गई अन्य मानिसको मृत्यु वा घाइते वा सम्पत्तिको क्षति भए त्यसको क्षतिपूर्ति उपलब्ध गराउने प्रयोजनका लागि गरिने बिमा तेस्रो पक्ष बिमा हो ।

खर्च र कागजात
सवारी साधन बिमाका लागि यति नै खर्च लाग्छ भन्ने निश्चित हुँदैन । बिमा कम्पनीअनुसार बिमा शुल्क फरक हुन्छ । बिमा योजना (पोलीसी) ले समेटने जोखिमअनुसार बिमा शुल्क निर्धारण गरिएको हुन्छ । बिमा गर्नका लागि त्यति धेरै कागजात आवश्यक पर्दैन । सवारी साधनको खरिद कागजात र सवारीधनीको आधिकारिक परिचयपत्रका आधारमा यस्तो बिमा गर्न सकिन्छ ।

भुक्तानी र सीमा
कुनै कारणले सवारी साधन वा तेस्रो पक्षमा क्षति पुग्यो भने दाबी भुक्तानीका लागि यथाशीध्र बिमा कम्पनीलाई सूचना दिनुपर्छ । सूचना पाएपछि कम्पनीका प्रतिनिधिले दाबी भुक्तानीको प्रक्रिया सुरु गर्छन् । कम्पनीले मागेका सबै कागजात पेस गर्नुपर्छ । सबै प्रक्रिया पुरा भएपछि कम्पनीले दाबी भुक्तानी दिन्छ । बिमा गरिसकेपछि पोलीसीले समेट्ने जोखिमबापतको क्षति नपाउने भन्ने हुँदैन । दाबी भुक्तानी भनेको बिमा कम्पनीको खर्च हो । जुनसुकै कम्पनीले पनि सकेसम्म खर्च कम गर्नै चाहन्छ । यसकारण कम्पनीले विभिन्न बहानामा कम वा ढिलो भुक्तानी गर्ने लगायतका व्यवहार देखाउन सक्छन् । यस्ता समस्या आउनै नदिन ग्राहक सचेत बन्नुपर्छ । सबै प्रक्रिया पुरा भएपछि पनि आनाकानी गरियो भने नियामक निकाय बिमा समिति तथा कानुनी प्रक्रियाका लागि अदालत जान सकिन्छ ।
यात्राको जोखिम सुरक्षण गर्ने यात्रु बिमाको सीमा (बिमांक) बढाउने प्रक्रिया अन्योलमा छ । सरकारले यात्रु बिमाको सीमा बढाएर प्रतिव्यक्ति १० लाख रुपैयाँ पुर्‍याउने तयारी गरे पनि यातायात विभागको ढिला सुस्तीका कारण प्रक्रिया अन्योलमा परेको हो । यातायात क्षेत्रको सिन्डिकेट खारेजी घोषणापछि यात्रु बिमा नीति परिमार्जन गरी बिमा रकम (बिमांक) पनि बढाउन लागिएको थियो । सरकारको निर्देशन नमान्ने केही यातायात व्यवसायीले यात्रु तथा तेस्रो पक्षको बिमा देखाएर पन्छिएको र दुर्घटनामा परेका यात्रुको उपचार खर्च भुक्तानी नगरिरहेका बेला यात्रु बिमाको सीमा बढाउन योजना सरकारले बनाएको थियो । यहीकारण यात्रु बिमाको सीमा बढाउन नीतिगत व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिमा समितिलाई पत्र पनि पठाएको थियो ।विभागले मोटर बिमामा हालको सीमा ५ लाखबाट बढाएर १० लाख रुपैयाँ बनाउन आग्रह गरेको थियो । त्यही पत्रका आधारमा बिमा दर निर्धारण सल्लाहकार समितिले यससम्बन्धी अध्ययन सुरु गरेको थियो । यस विषयमा पटकपटक छलफल भए पनि अन्तिम निर्णय भइसकेको छैन ।

यात्रुको उपचार खर्च छैन
करिब एक वर्षअघि सरकारले यातायात व्यवसायीको सिन्डिकेट खारेज गर्न निर्देशन दिएको थियो । त्यसपछि निर्देशन नमान्ने व्यवसायीको बैंक खाता रोक्का गरेको छ । केही व्यवसायीको बैंक खाता सर्तसहित खुला गरिए पनि अधिकांशको अझै रोक्का छ । खाता रोक्का भएपछि व्यवसायीले दुर्घटनामा घाइते यात्रुको उपचार खर्च बेहोरेका छैनन् ।
समितिले उपचार खर्च नदिएपछि घाइते यात्रुले राम्रोसँग उपचार नपाएको उनीहरूको गुनासो छ । उपचार खर्च नहुँदा केही यात्रु अस्पतालमै अलपत्र पर्ने गरेका छन् । यसअघि यातायात समितिले घाइते बिरामी उपचारका लागि लाखौं रुपैयाँ खर्च गर्दै आएका थिए । हाल सवारी दुर्घटनाका कारणले कुनै व्यक्ति घाइते भए उपचारका लागि बिमाबापत बढीमा प्रतिव्यक्ति ३ लाख र मृत्यु भए ५ लाख रुपैयाँबाहेक अरू भुक्तानी दिइँदैन । यसको असर आर्थिक अवस्था कमजोर भएका यात्रुमा परेको विज्ञहरू बताउँछन् ।

अटो अर्थतन्त्र

इसाराकै भर

- दीपेन्द्र विष्ट

प्रहरी जवान जीवन श्रेष्ठ (नाम परिवर्तन) नारायणहिटी संग्रहालयको दक्षिण गेटको आइल्यान्डमा उभिएर हात र सिडीका भरमा सवारी साधनलाई ‘रोक र अगाडि जाऊ’ भन्ने संकेत दिइराखेका हुन्छन् । दैनिक ५/६ घण्टा हात र सिट्टीकै भरमा उनी सवारी साधनको व्यवस्थापन गर्छन् । साउनको झरी होस् वा वैशाख–जेठको प्रचण्ड गर्मी उनी यसरी नै खटिरहेका हुन्छन् । ‘ट्राफिक बत्ती नहुँदा पैदलयात्रीलाई समेत नियन्त्रण गर्न गाह्रो छ । पिक आवर सवारी साधनको बाढी नै आउँछ व्यवस्थापन गर्न मुस्किल पर्छ,’ उनले भने ।
प्रहरी जवान नवीन लामा (नाम परिवर्तन) ले कोटेश्वरको धूलोधूवाँमा ९ महिनादेखि सास्ती भोग्दै आएका छन् । उनी पनि हात र सिट्टीकै भरमा गाडी व्यवस्थापन गर्छन् । ‘धूलो–धूवाँले कति असर गर्छ भन्ने कुरै नगरौं, ड्युटी अफ भइसकेपछि घर पुगेर खोक्दा धूलोबाहेक केही निस्कँदैन । उभिंदाको सास्ती उस्तै छ । धूलो–धूवाँले लुगा उस्तै फोहोर हुन्छ । के गर्नु जागिर खानै पर्‍यो, शरीर पनि मेसिनजस्तै भइसक्यो,’ उनले भने ।
ट्राफिक बत्ती राम्रो भइदिएको भए सवारी साधन र पैदलयात्रीलाई नियन्त्रण गर्न सजिलो हुने उनले बताए । ‘पैदलयात्री ह्वातै आउँछन्, गाडी नियन्त्रण गर्ने कि पैदलयात्री ? पैदलयात्री दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ,’ उनले भने । उनी ओभर ब्रिज भइदिए पैदलयात्रीलाई नियन्त्रण गर्न सजिलो हुने बताउँछन् । ‘चोकचोकमा ओभर ब्रिज भइदिए त्यति धेरै सास्ती हुँदैन थियो,’ उनले भने ।
आइल्यान्डमा उभिएको समयसमेत जोड्दा प्रत्येक ट्राफिक प्रहरीले दैनिक १३/१४ घण्टा ड््युटीमा खटिनुपर्छ । २१ वर्षअघि जापान सरकारले उपत्यकाका १० स्थानमा जडान गरिदिएका ट्राफिक बत्तीहरू राम्ररी बल्दैनन् । विभिन्न समयमा मर्मत गरे पनि टिक्दैनन् । अधिकांश बत्ती जीर्ण छन् । जापान सरकारको सहयोगमा निर्मित तीनकुने–सूर्यविनायक सडक खण्डका ६ वटा ट्राफिक बत्ती मात्र बल्छन् । डेढ वर्षअघि उपत्यका ट्राफिक महाशाखा, महानगरपालिका र सडक विभागले १० वटा वत्तीलाई मर्मत गरेको थियो । तिनीहरू पनि राम्ररी बल्दैनन् । बिग्रिरहन्छन ।
काठमाडौं महानरपालिकाभित्र जापानी सरकारको सहयोगबाहेक नयाँ ट्राफिक बत्ती जडान गरिएका छैनन् । ‘भएका बत्ती राम्रा छैनन, बिग्रिराखेका हुन्छन्,’ महानगरीय ट्रापिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले भने, ‘निकै सास्ती छ, धुलाम्मे र हिलाम्मे जतिबेला पनि समस्या छ । साँगुरा सडकमा बढ्दो सवारी चाप नियन्त्रण गर्न निकै हम्मे परको छ ।’
प्रविधिले फड्को मारिसक्दा यहाँ भने ट्राफिक प्रहरीले आइल्यान्डमा उभिएर हात हल्लाइरहनुपरेको उनले बताए । ‘बाटो काट, गाडी रोक भन्दा सिठी बजाउनुपर्छ । अगाडि बढ र रोक भन्दा हात हल्लाउनुपर्छ । यसरी कति दिन चल्छ ?’ उनले भने ।
पन्तले ट्राफिक बत्ती नहुँदा ट्राफिकलाई निकै सास्ती भएको बताए । ‘पर्याप्त मात्रामा ट्राफिक बत्ती छैनन्, भएका जीर्ण छन् तर जिम्मेवार निकायको ध्यान गएको छैन । धेरै ठाउँमा जेब्रा क्रसिङसमेत छैन । भएका जेब्राक्रसिङ वर्षातमा देखिँदैन,’ उनले भने, ‘जेब्रा क्रसिङमै पैदलयात्रीको मृत्यु हुने सम्भावना बढी छ ।’ महानगरीय ट्राफिक महाशाखाअनुसार सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४३ प्रतिशतभन्दा बढी पैदलयात्रु छन् ।
उपत्यकामा करिब १४ सय ५० जना ट्राफिक प्रहरी परिचालित छन् । उपत्यका सवारी चाप र प्राविधिकबिनाको सवारी नियन्त्रणका आधारमा यो जनशक्ति निकै कम भएको महानगरीय ट्रापिक महाशाखा प्रमुख पन्त बताउँछन् । उनका अनुसार एक जना ट्राफिक प्रहरीले १ हजारभन्दा बढी गाडीको व्यवस्थापन गर्नुपर्छ । उपत्यकाका २ हजार १४ किमि सडकमा दैनिक करिब १० लाख गाडी सञ्चालनमा छन् । सडक विभागका अनुसार पक्की सडकअन्तर्गतको राष्ट्रिय राजमार्ग ६१ किमि, सहायक मार्ग ४ लाख ८८ हजार किमि छ । कच्चीमध्ये सहरी क्षेत्रभित्र विस्तारमा रहेको सडक १ सय ५८ किमि, अन्य सडक १३ सय ७ किमि छ । त्यसैगरी १ लेनको सडक ६ सय ६० किमि, दुई लेनको सडक २ सय ३९ किमि र चार लेनको सडक १ सय ९३ किमि छ ।
सहरी विज्ञ किशोर थापाले सहरी र सडक पूर्वाधार व्यवस्थित नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताए । उपत्यकाको यातायात पूर्वाधार नै कमजोर रहेको उनले बताए । ‘पूर्वाधार कमजोर छन, पैदलमैत्री छैनन्,’ उनले भने, ‘ट्राफिक बत्ती खै ? ट्राफिकले हात हल्लाएको भरमा कति दिन चल्छ, यो त सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने हो ।’ आइल्यान्ड र जेब्रा क्रसिङ निर्माण, ट्राफिक बत्ती जडान तथा मर्मतको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हो । १ वर्षअघि उपत्यकाका ३५ स्थानमा ३७ वटा ट्राफिक बत्ती जडान गर्ने घोषणा गरिएको थियो तर कार्यान्वयन भएको छैन । पहिला जडान गरिएका ट्राफिक लाइटको मर्मत–सम्भार तथा प्रयोग नहुँदा बिग्रेपछि मन्त्रालयले नयाँ लाइट जडान गर्न खोजेको हो । माइतीघर, तीनकुने, जय नेपाल हल, थापाथली, जाउलाखेल, गौशालालगायत सवारीको अत्यधिक चाप हुने चोकमा ट्राफिक लाइट जडान गरिएको छ ।

Page 32
अटो अर्थतन्त्र

सवारी, सडक र सकस

गाउँगाउँमा सडक बनाउन प्रतिस्पर्धा चलेको छ । सडकले छोएसँगै गाउँमा आयमूलक काममा सक्रियता बढेको छ । गाउँका उत्पादन सहर पुग्न थालेका छन् ।
- विमल खतिवडा

स्थानीय तहमा जनप्रतिनिधि बहाल भएपछि ग्रामीण सडक निर्माणले तीव्रता पाएको छ । चुनावमा सडकलाई पहिलो एजेन्डा बनाएका जनप्रतिनिधिहरूले सडक विस्तारलाई प्राथमिकता दिएका छन् । वडामा आधाभन्दा बढी बजेट सडकमा खर्च हुन थालेको छ । पहिला मुख्य सहर र सदरमुकाम मात्र सडकबाट जोडिएका हुन्थे । अहिले सदरमुकामलाई गाउँसम्म सडकले जोडिरहेको छ । वडा–वडासम्म सडक बन्दै छन् । पहिले एक जिल्लाबाट अर्को जिल्ला पुग्न तीन दिनसम्म पैदल हिँड्नुपर्ने अवस्था रहेकामा अहिले केही घण्टामै पुग्न सकिने भएको छ । सडकले यात्राको समय छोट्याएको छ । सडकले छोएसँगै गाउँमा आयमूलक काममा सक्रियता बढेको छ । गाउँका उत्पादन सहर पुग्न थालेका छन् । गाउँका किसानले करेसामा तरकारी, फलफूल फलाएर बेच्न थालेका छन् ।
पछिल्लो समय ग्रामीण क्षेत्रमा सडक निर्माणको प्रतिस्पर्धा देखिन्छ । निर्माण भइसकेका स्तरोन्नति गरेर बलियो र फराकिलो बनाउन पनि ध्यान दिने गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार ०७५/०७६ फागुनसम्म सडकको कुल लम्बाइ ३१ हजार ३ सय ९३ किलोमिटर पुगेको छ । जुन ०७४/०७५ को भन्दा १ हजार ३ सय ५ किमि बढी हो ।
आर्थिक सर्वेक्षणअनुसार ०७५/०७६ को फागुनसम्म १४ हजार १ सय २ किमि कालोपत्रे, ७ हजार ८ सय ८१ किमि ग्राभेल र ९ हजार ४ सय १० किमि कच्ची सडक निर्माण भएको छ । ०७५/०७६ मा स्थानीयस्तरमा निर्माण भएको ६० हजार १ सय ६२ किमि सडकमध्ये कालोपत्रे ६ दशमलव ५, ग्राभेल २१ दशमलव ९ र कच्ची सडक ७१ दशमलव ६ प्रतिशत छ ।
सडकलाई पूर्वाधारको पनि पूर्वाधार भन्ने गरिन्छ । नेपालको पहिलो सडक त्रिभुवन राजपथ हो । पूर्वाधार विज्ञहरूका अनुसार यो सडक २०१६ सालमा निर्माण सुरु भई २०१८ मा पूरा भएको थियो । सडक विभागका महानिर्देशक केशवकुमार शर्मा काठमाडौं उपत्यकामा बाहेक अन्यत्र सवारी जाम कम हुने गरेको बताउँछन् । ‘राजमार्गमा पहिरो गए वा बीचैमा सवारी साधन बिग्रिएबाहेक जाम भोग्नु पर्दैन,’ उनले भने, ‘सांघुरा भनिएका सडकलाई धमाधम चार र छ लेनको बनाउन सुरु गरिसकेका छौं, त्यसपछि समस्या नहोला ।’
नारायणगढ–बुटवललाई चार लेन बनाउने गरी काम सुरु भइसकेको छ । पूर्व पश्चिम राजमार्गको कमलादेखि कञ्चनपुर भारदहसम्मको ठेक्का लगाउने अन्तिम तयारीमा छ । मुग्लिन–पोखरा सडकको डिजाइन प्राप्त भएको र एक/दुई महिनाभित्रै ठेक्का लाग्ने शर्माले बताए । तराईमा सवारी चाप बढी हुने र साँघुरा पुलका कारण जाम हुने गरेको छ । ती क्षेत्रका सडकको समेत स्तरोन्नति गर्न लागिएको छ । सीमा क्षेत्रदेखि पूर्वपश्चिम राजमार्गसम्म, नेपालगन्ज–कोहलपुर, धनगढी–अत्तरिया, वीरगन्ज–पथलैया, जनकपुर–ढल्केबर, रानी–विराटनगर–धरान जोड्ने सबै सडक आवश्यकता हेरी चार र छ लेनमा स्तरोन्नति गरिने शर्माले बताए । ‘सडकमा वार्षिक १० अर्ब विनियोजन हुँदै आएको छ,’ उनले भने, ‘स्तरोन्नति गर्न पनि समय लाग्छ, डिजाइन गर्नुपर्ने हुन्छ ।’ प्रजातन्त्र आउनुअघि ३ सय ७६ किमि मात्र सडक थियो । ‘२०१८ देखि ०३० सालसम्म सडकको राम्रो विकास भयो,’ शर्माले भने, ‘त्यसपछि फेरि सुस्तायो, ०४७/०४८ पछि विकास हुने क्रम बढ्यो । गाउँदेखि सहरसम्म सडकको ह्वात्तै विकास भने ०६२/०६३ सालपछि भयो ।’ ग्रामीण सडकको विकास ०५१ सालपछि भयो । ०५७/०५८ सालमा स्थानीय पूर्वाधार विकास तथा कृृषि सडक विभाग खुलेपछि ग्रामीण क्षेत्रमा सडक विकासले तीव्रता लियो । ७६ जिल्लासम्म सडक सञ्जाल फैलिएको छ । बाँकी एक जिल्ला हुम्लामा यही आर्थिक वर्षमा सडक पुग्ने दाबी शर्माको छ ।

गुणस्तर कमजोर
स्थानीय तहअन्तर्गत निर्माण भएका सडकमा कालोपत्रेको अवस्था एकदम कमजोर पाइएको छ । सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको ०७५/०७६ फागुनसम्मको तथ्यांकअनुसार ४३ हजार ६६ किलोमिटर धूले तथा कच्ची र १३ हजार १ सय ५१ किमि ग्राभेल सडक निर्माण भएको छ । ३ हजार ९ सय ४६ किमि मात्र कालोपत्रे भएको छ । आर्थिक सर्वेक्षणले स्थानीय तहअन्तर्गत निर्माण भएका सडकलाई सुरक्षित र गुणस्तरीय बनाउन क्रमिक रूपमा स्तरोन्नति गर्नुपर्ने औंल्याएको छ । ‘सडक धेरै बने तर गुणस्तर सोचेअनुरूप छैन,’ पूर्व भौतिक सचिव तुल्सी सिटौला भन्छन्, ‘सडकलाई संख्यामा भन्दा पनि गुणस्तरीय बनाउनेतर्फ ध्यान दिन जरुरी छ ।’
कम गुणस्तरको सडक टिकाउ हुँदैन । दैनिक खाद्य सामग्री ढुवानी गर्ने सडक पहिरो गएर, भत्किएर, बिग्रिएर अवरुद्ध हँॅदा अर्थतन्त्रमा प्रत्यक्ष रूपमा असर गर्छ । विज्ञहरूका अनुसार सडकको आयु डिजाइनमा भर पर्छ । बढीमा २० वर्षसम्म टिक्ने सडक हुनुपर्छ र त्यसपछि अबस्था हेरेर मर्मत गर्दै जानुपर्छ । सडकविज्ञ कमल पाण्डे सडकको विकास हुनु राम्रो भए पनि ग्रामीण सडकले सोचेअनुरूप स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउन नसकेको बताए । ‘सबैको चाहना गाउँ–गाउँसम्म सडक पुगोस भन्ने हो,’ उनी भन्छन्, ‘तर ग्रामीण सडकको काम चाउचाउ र बियरको बोतल गाउँ–गाउँसम्म पुर्‍याउने काम मात्र भएको छ ।’

सवारी चाप काठमाडौंमा
ट्राफिक प्रहरी महाशाखाका एसपी रविकुमार पौडेलका अनुसार काठमाडौंमा १२ लाख सवारी साधन गुड्छन् । तर सडक ६ हजार किमि मात्र छ । ‘सवारी साधन धेरै छन्, सडक थोरै छ,’ उनले भने, ‘भएको सडक पूर्वाधार पनि राम्रो छैन ।’ उनका अनुसार ०७५/७६ मा देशभर सडक दुर्घटनामा परेर २८ सयको ज्यान गयो । उपत्यकामा मात्र सवारी दुर्घटनामा २ सय ५४ जनाको मृत्यु भयो । ‘यो तथ्यांकले स्थिति विकराल रहेको देखाउँछ,’ उनले भने, ‘यसमा सबैले सोच्न जरुरी छ ।’ यातायात व्यवस्था विभागका अनुसार ०७५/७६ फागुनसम्मको तथ्यांकअनुसार सवारी साधनको संख्या ३५ लाख ५३ हजार ५ सय १९ छ । यसमा सबै बढी संख्या मोटरसाइकलको छ । देशभर २५ लाख ३० हजार ७ सय २२ वटा मोटरसाइकल छन् । बसको संख्या ४९ हजार ३ सय १८ छ । मिनी बस/मिनी ट्रकको संख्या २५ हजार ५ सय ९५ छ । क्रेन/डोजर/एक्स्काभेटर/ट्रकको संख्या ९० हजार ४ सय ११ र कार, जिप र भ्यानको संख्या २ लाख ३७ हजार ६ सय ५८ छ । पिक अप ५५ हजार ९ सय ७३, माइक्रो ७ हजार ६ सय ५८ र टेम्पो ४५ हजार ६ सय ७२ छन् । विभागका अनुसार ट्र्याक्टर/पावर ट्रिलरको संख्या १ लाख ४३ हजार सय ६२ छ । इरिक्सा २६ हजार ४ सय ६६ वटा छ । आर्थिक वर्ष ०७४/७५ सम्म २ लाख ९८ हजार ७५ वटा सवारी चालक अनुमतिपत्र (इलेक्ट्रिक स्मार्ट कार्ड) वितरण गरिएको थियो । ०७५/७६ को फागुन सम्म ५ लाख ५७ हजार २ सय ९८ चालक अनुमतिपत्र बाडिएको छ ।

अटो अर्थतन्त्र

छैन जनशक्ति

- होम कार्की

काठमाडौंको खाल्डोमा पाइला टेक्दा रामेछापका राजु बस्नेत १४ वर्षका थिए । काठमाडौंको जीवनले तानिएर उनी यहाँ आएका थिए । बाँच्नु त पर्‍यो । तर गर्ने के ? मामाका ठुलो छोरा माइक्रो बसमा सहचालक थिए । उनैले राजुलाई बाटो देखाइदिए, ‘अहिले पैसा कमाउनु छैन । बिहान बेलुकाको छाक टार्न मजस्तै खलासी बने भइहाल्यो ।’
मामाका छोराले दुई दिनमै माइक्रो खोजिदिए । माइक्रो चढेको दिन तलब निर्धारण भएन । बिहान–बेलुका ड्राइभरसँगै खान पाइन्थ्यो । दिनभर सय/५० झ्याप हान्न पाइन्थ्यो । झन्डै ५ वर्ष जिन्दगी यही रेखामा दौडियो । यसबीचमा उनले माइक्रोका धेरै मेसिनेरी पाटपुर्जाबारे सूचना लिइसकेका थिए । गाडी स्टार्ट गर्न सिके । पार्किङबाट माइक्रोलाई बाहिर निकाल्न सिके । बिस्तारै सडकमा गाडी चलाउन थाले । १९ वर्षमै उनले घूस खुवाएर लाइसेन्स निकाले । ‘मेरो गुरुजीले चिनेका साथीलाई ३० हजार रुपैयाँ दिएँ । उनैले लाइसेन्स ल्याइदिए,’ उनले भने । त्यस उनी खलासीबाट ड्राइभर भए ।
राजु १० वर्षदेखि काठमाडौंमा गाडी कुदाइरहेका छन् । ‘भगवान्को कानमा नपरोस् । आजको दिनसम्म गाडी कतै ठोकिएको छैन । कसैलाई हानेको छैन । ट्राफिक प्रहरीको कारबाहीमा परिएको छैन,’ रत्नपार्कमा भेटिएका उनी भन्दै थिए, ‘एउटा गाउँले केटो आज काठमाडौंमा घुमेर वसेको छ ।’
यातायात क्षेत्रमा ठूलो जनशक्ति कार्यरत छन् । श्रम सर्वेक्षण– २०७५ अनुसार रोजगार सिर्जना हुने ५ औ क्षेत्रभित्र यातायात पर्छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अनुमानमा झन्डै ११ लाख जना चालक छन् । श्रम सर्वेक्षणले भने यातायात क्षेत्रमा मात्रै काम गर्ने श्रमिकको सख्या छुट्याएको छैन । यातायात, भण्डार, मोटर बनाउनेलगायत क्षेत्रमा काम गर्ने श्रमिकको सख्या झन्डै १५ लाख ६२ हजार छन् ।

खै तालिम ?
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वालाका अनुसार बजारको मागअनुसार दक्ष सवारी श्रमिक उत्पादन गर्न तालिम दिने निकाय नै छैन । ‘हामी सबै खलासीबाट ड्राइभर भएर बजारमा आएका हौं,’ उनले भने, ‘यति ठूलो क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन व्यावसायिक तालिम दिने संस्था छैनन् ।’ यातायात व्यवस्था विभागमा दर्ता भएर निजी स्तरमा खुलेका ड्राइभिङ सेन्टरमा मात्रै तालिम लिन पाउने सुविधा छ । यसमा पनि मोटरसाइकल र हलुका सवारी साधन मात्रै सिक्न पाइन्छ । ‘व्यावसाहिक तालिम लिएर सिधै चालक बन्न पाउने व्यवस्था राज्यले गरेको छैन,’ ज्वालाले भने ।दक्ष जनशक्ति उत्पादनका लागि सरकारले सीटीईभीटीलाई जिम्मा दिएको छ । श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सीप विकास तालिम केन्द्र स्थापना गरिएको छ । दुवैमा यातायात क्षेत्रका लागि आवश्यक पर्ने तालिम दिने गरिएको छैन । सवारी चालकका लागि तयार गरिएको पाठ्यक्रमसमेत उपयुक्त छैन । त्यसमा निश्चित मापदण्ड तोकिएको छैन । ‘भूगोलका आधारमा ड्राइभिङ स्कुल हुनुपर्थ्यो,’ ज्वालाले भने, ‘यहाँ मधेसमा गाडी कुदाइरहेका साथीहरूलाई पहाडमा पठाइन्छ । भूगोलका कारण दुर्घटना बढिरहेको छ ।’

जनशक्ति उत्पादनमा बेवास्ता
सरकारले ठूला सवारी साधानका लागि लाइसेन्ससमेत दिन रोकेको वर्षौं भइसक्यो । यसले गर्दा बजारको मागअनुसार जनशक्ति छैन । यातायात व्यवसायीहरूका अनुसार ठूला सवारी चलाउने ड्राइभरले मासिक रूपमा ४५ देखि ५५ हजार रुपैयाँसम्म आम्दानी गर्छन् । यस्ता ड्राइभरहरू विदेश गए तेब्बरसम्म आम्दानी हुन्छ । कतारमा लरी ट्रक चलाउँदै आएका झापाका रेवती शर्माले मासिक ५ हजार रियाल –एक लाख ५० हजार रुपैयाँ) सम्म कमाउने गरेको बताए । ‘यहाँको सडक सुरक्षित छ । ट्राफिक प्रहरीसँग घुम्ती नै पिच्छे लड्नुपर्दैन,’ उनले भने, ‘नेपालमा महिनाको २० हजार पनि बचाउन गार्‍हो छ । यहाँ एक लाख रुपैयाँ चोखो बचाउन सकिन्छ ।’
कतारमा हलुका सवारी साधन चलाउने ड्राइभरले पनि १९ सय रियाल (५७ हजार रुपैयाँ) कमाउने गरेका छन् । ‘यहाँ लाइसेन्स पाउनु भनेको मास्टर डिग्री पाएजस्तै हो । निकै कठिन छ । लाइसेन्स पाइसकेपछि जिन्दगी नै सुरक्षित भएजस्तो लाग्छ,’ शर्माले भने, ‘नेपालमा हामी हेपिएका छौं । त्यही ड्राइभरले विदेशमा सानका साथ काम गर्न पाउँछ ।’
नेपाल ट्रक व्यवसायी महासंघका पूर्वउपाध्यक्ष गोकर्ण पराजुलीले पनि यातायात क्षेत्रमा जनशक्ति अभाव रहेको बताए । ‘एक त हेभी सवारी साधनको लाइसेन्स दिन बन्द छ । यसको कारण सरकारले स्पष्ट भनेको छैन,’ नारायणी यातायात प्रालिका अध्यक्षसमेत रहेका पराजुलीले भने, ‘उमेर नाघेकाहरू काम गर्न नसक्ने भए । काम गर्न सक्नेहरूको हातमा लाइसेन्स छैन । लाइसेन्स भएका चालक पाउन मुस्किल छ ।’
उनका अनुसार यातायात क्षेत्रमा दुर्घटना बढ्नुको मुख्य कारण नै सीपयुक्त जनशक्तिको अभाव हो । ‘लामो दूरीको सवारी साधन सञ्चालन गर्न एक जनाले मात्रै सम्भव छैन । पालो दिने चालक चाहिन्छ,’ उनले भने, ‘सरकारले लाइसेन्स बन्द गर्दा बजारमा नयाँ चालक नै भेटिँदैनन् ।’
सरकारले सवारी चालक नियमावली–२०७१ शंशोधन गरेर चालकका लागि कक्षा १० उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरियो । सवारी चालकहरू यो नीति व्यावहारिक नभएको बताउँछन् । ‘यो क्षेत्रमा सीधै हुनेखाने वर्ग आउने होइन । गाउँमा दुःखकष्ट बेहोरेका, पढ्न नपाएकाहरू आउँछन्,’ ज्वालाले भने, ‘सरकारले पढाइ हुनुपर्ने सर्त राखेर त्यस्ता वर्गको रोजगारीमा लात हान्यो ।’ प्रत्येक वर्ष गाडीको संख्या बढिरहेको छ । आर्थिक वर्ष २०७४/७५ मा चार लाख ३७ हजार सवारी साधान थपिए । गत वर्ष ६ लाख ५६ हजार ९० गाडी थपिए । गाडी हरेक वर्ष बढ्छ, दक्ष चालक भने घट्दै छन् । ‘वैदेशिक रोजगारीमा आकर्षणले यहाँ दक्ष जनशक्ति नै छैन,’ ज्वालाले भने ।

असुरक्षित पेसा
यो शरीरमा बल भएसम्म चल्ने जोखिमयुक्त पेसा हो । श्रम ऐन–२०७४ ले यातायात श्रमिकका लागि विशेष सुविधा दिएको छ । लामो दूरीमा यात्रु ओसारपसार गर्ने सवारी साधन आलोपालो गरी चलाउन कम्तीमा दुई जना चालक राख्नुपर्ने नियम छ । त्यस्ता चालकलाई गन्तव्य स्थानमा पुग्नुअघि ठाउँ–ठाउँमा आराम गर्ने व्यवस्था मिलाउनुपर्छ । दिनको आठ घण्टाभन्दा बढी समय काममा लगाइए श्रमिकलाई बढी समय काम गरेबापत निजले पाउने पारिश्रमिकको डेढीका दरले पारिश्रमिक दिने, गन्तव्य स्थानमा नपुग्दै सवारी साधन बिग्रिएर नचल्ने भए वा कुनै कारणले एकै स्थानमा रोकिराख्नुपरे श्रमिकलाई सवारी साधन चालु रहेको अवस्थामा पाउने गरेको भत्ताको पचास प्रतिशत भत्ता दिने नियम छ । सवारी साधनमा प्राथमिक उपचारका लागि स्वास्थ्योपचार सामग्री राख्नुपर्छ । तर, यी प्रावधान लागू गरिएका छैनन् ।
‘हामी त हिटलरको ग्यास चेम्बरभित्र यहुदीलाई हालेजस्तो हालतमा छौं । दुर्घटना न्यूनीकरण गर्न जिम्मेवार निकायको ध्यान छैन । सबै दोष हामीलाई मात्रै लागेको छ । हामी कुन मानसिक तनावमा काम गरिरहेका हुन्छौं, अरूलाई थाहा छैन,’ ज्वालाले भने, ‘हाम्रो न्यूनतम तलबसमेत तोकिएको छैन । हामी ट्रिपका आधारमा पारिश्रमिक पाउने गरी काम गरिरहेका हुन्छौं ।’
यातायात श्रमिकका लागि सामाजिक सुरक्षाको व्यवस्थासमेत गरिएको छैन । नेपाल ट्रक व्यवसायी संघका पूर्वअध्यक्ष पराजुली यातायात व्यवसायी नै अस्थिर रहेकाले श्रमिकहरूका विषयमा व्यवस्थित हुन नसकेको बताउँछन् । ‘हरेक तीन महिनामा सवारी साधनका मालिक फेरिन्छन् । मालिक परिवर्तन भएलगत्तै कामदार पनि बदलिन्छन्,’ उनले भने, ‘सरकारले कम्पनीका रूपमा यसलाई सञ्चालन गर्‍यो । यस क्षेत्रलाई अनुशासनमा राख्न सकेन । यातायातमन्त्रीले यातायात व्यवस्था विभागका महानिर्देशकलाई बिरालोले बच्चा सारेजसरी फेरिरहन्छन् । अनि कसरी व्यवस्थित हुन्छ त ?’

अटो अर्थतन्त्र

हेभीको हैकम

डोजरले गाउँ–गाउँमा सडक पुर्‍याएका छन् । तर प्राविधिकसँग परामर्श नगरी बिनासर्वेक्षण र डिजाइन खनिएका सडकहरुमा दुर्घटनाको उच्च जोखिम छ ।
- राजेन्द्र नाथ

२ असार ०७६ मा १० जनाको ज्यान जाने गरी बझाङमा जिप दुर्घटना भयो । जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्टा गाउँपालिकाको भुस्या जोड्ने सडकमा दुर्घटना भएको थियो । यो विषयले स्थानीयस्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा चर्चा पायो । त्यसरी चर्चामा आउनुको प्रमुख कारण भने बिनासर्वेक्षण र डिजाइन निर्माण गरिएको सडकको दुरवस्था थियो ।
२०७२ सालमा पानकोटदेखि डुग्राकोट हुँदै साविक कोटदेवल गाविसको भुवाढुस्कासम्म सडक खनिएको थियो । जिविसको डोजरले सडक खनिए पनि यसमा प्राविधिकहरू सहभागी थिएनन् । उनीहरूबाट कुनै प्रकारको रायसल्लाह पनि लिइएको थिएन । स्थानीय अपरेटरको सल्लाहमा डोजरले सरासर सडक खनेको थियो । ‘हामीसँग प्राविधिकको सल्लाहअनुसार सडक खन्न पर्याप्त रकम थिएन । जसरी पनि रोड रनाडासम्म पुर्‍याउनुपर्ने थियो,’ तत्कालीन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कलकबहादुर खड्का भन्छन्, ‘त्यसैले गाउँले र डोजर ड्राइभरको सल्लाहमा जताजता छोटो पर्छ त्यतैत्यतै खन्यौं ।’ दोस्रो पटक सडक खन्दा पनि प्राविधिक आवश्यक ठानिएन । गाउले र डोजर अपरेटरले आफूखुसी खने ।
असारको दुर्घटनामा ज्यान गुमाउने १० मध्ये सात जना तत्कालीन उपभोक्ता समिति अध्यक्ष खड्काकै आफन्त थिए । ‘हामीले सडक नखनेर आफ्नै दाजुभाइको खाल्डो खनेका रहेछौं,’ खड्काले कान्तिपुरसित भनेका छन्, ‘राम्रा इन्जिनियरलाई देखाएर निर्माण गरिएको भए आज यो दिन देख्नुपर्ने थिएन । हाम्रो अल्पज्ञानले आफैंलाई पिरोल्यो ।’
सुदूरपश्चिमको बझाङ मात्र होइन, अहिले सबैतिरको अवस्था यस्तै छ । ‘डोजरका अपरेटर नै सडकका इन्जिनियर’ बनेका समाचार प्रायः सबै अखबारमा प्रकाशित भइरहेका छन् । ‘धेरै ठाउँमा प्राविधिक र वातावरणीय अध्ययनबिनै सडक निर्माण भइरहेका छन् । अपरेटरकै भरमा सडक खन्दा त्यसले वातावरणीय हिसाबमा दीर्घकालीन असर पुर्‍याउँछ,’ नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवर भन्छन्, ‘यसतर्फ कसैले ध्यान दिएको छैन ।’
सडकलगायत विकास निर्माणका काममा पछिल्ला दिनमा एक्स्काभेटर, ब्याकु, लोडर, क्रेन, बुल्डोजर, ग्रेडर र रोलरलगायत हेवी इक्विप्मेन्टको प्रयोग बढ्दो छ । कस्तो ठाउँमा कसरी र कति मात्रामा यस्ता मेसिन प्रयोग गर्ने मापदण्ड हेरिँदैन । केही स्थानीय तहहरूले कार्यविधि बनाए पनि त्यसको कार्यान्वयनमा बेवास्ता गरिएको छ । ‘सबैलाई सडक चाहिएको छ, नेताहरूले पनि चुनावका बेला घरघरमा सडक पुर्‍याउने सपना देखाएका थिए,’ अध्यक्ष कुँवरले भने, ‘अवस्था कस्तो छ भने डोजर घरघरमा त पुगे तर गाडी पुगेनन् ।’
कतिपय ठाउँमा जता पायक र खुकुलो जमिन छ त्यतै डोजर चलाएर ट्र्याक खोलिएका छन् । ती बाटामा गाडी भने गुड्न सक्दैनन् । अन्धाधुन्द ढंगले खनिएका सडकमा दुर्घटनाको जोखिम उच्च छ ।
लामो समय मुलुक सशस्त्र द्वन्द्वको चपेटामा फस्यो । त्यति बेला विकास–निर्माणले गति लिएन । भएका संरचनाहरू तत्कालीन विद्रोही पक्षले ध्वस्त पारे । निरंकुशतन्त्रको पुनः असफल अभ्यास थालियो । यी सबै कुराले आजित जनता जागे । ०६२/६३ को जनआन्दोलन र शान्ति सम्झौता मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको जग हालियो । नयाँ संविधान प्राप्तिपछि स्थानीय, प्रदेश र संघ गरी तीन तहको चुनाव भएर मुलुकमा स्थायी सरकार बनेको छ । यो बेला नागरिकमा विकास निर्माणको अपेक्षा चुलिएको छ । धेरैको बुझाइ विकास भनेकै सडक हो भन्ने छ । जनप्रतिनिधिले पनि त्यसैलाई प्राथमिकता दिएका छन् । तर वैज्ञानिक र वातावरणीय दृष्टिले अध्ययन/अनुसन्धानबिना सडक बनाइँदै छन् । यसका नकारात्मक असर समाजमा बिस्तारै देखा पर्न थालेका छन् । बझाङ त्यसकै उदाहरण हो ।
देशैभर यस्ता घटना–दुर्घटना बढेका बढ्यै छन् । सरोकारवाला निकायले अनुगमन, नियमनमा ध्यान दिन सकेका छैनन् । ‘जलवायु उत्थानशील अवधारणाअनुसार काम गर्नुको विकल्प छैन । कस्तो ठाउँमा हेवी इक्विप्मेन्ट प्रयोग गर्ने भन्ने विषयमा विस्तृत अध्ययन हुनुपर्‍यो । जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तुलगायत विभिन्न पक्षमा ध्यान दिएर मात्र डोजर चलाउनुपर्‍यो,’ वन–वातावरणका क्षेत्रमा कार्यरत मनोज ओझाको सुझाव छ, ‘मेसिनरी सामान सकेसम्म कम प्रयोग गरेर मानिसले रोजगारी पाउने अवसरको सृजना हुनुपर्छ । टुक्र्याएर भन्दा प्याकेजमा एकै पटक काम गर्दा प्रतिफल राम्रो हुन्छ ।’
खोलाखोल्सी, नदी, पहाड, जंगल, मकैबारी, धान खेत जताततै डोजर कुदाइएको छ । तिनले हरिया पाखा ख्रोसिरहेको उदेकलाग्दो दृश्य हेरिनसक्नु छ ।
पछिल्ला वर्षहरूमा हेवी इक्विप्मेन्टको प्रयोग जबर्जस्त बढिरहेको छ । ८–१० वर्षअघिसम्म यस्ता मेसिन जापान र अमेरिकाबाट आयात हुन्थे । अहिले दक्षिण कोरिया र चीनबाट फाटफुट आए पनि हेवी इक्विप्मेन्टमा भारतकै एकाधिकारजस्तो छ । हेवी इक्विप्मेन्ट व्यवसायी महासंघका अनुसार ४–५ वर्षअघिसम्म नेपालमा ६ देखि ७ हजारको हाराहारीमा मेसिन उपलब्ध थिए । अहिले बढेर २३ हजारसम्म पुगेका छन् । महासंघमा करिब ६ हजार व्यवसायी आबद्ध छन् । ४७ जिल्लामा महासंघको सञ्जाल फैलिएको छ । स्थानीय तहहरूमा डोजर किन्ने होडबाजी छ । कतिपय ठाउँमा जनप्रतिनिधिले आफ्ना नातेदार तथा इष्टमित्र मार्फत यस्ता मेसिनमा लगानी गरिरहेका छन् । उनीहरू कतिपय ठाउँमा नातेदारहरूलाई काम दिएर आर्थिक हिस्सेदार बनेका छन् ।

Page 33
अटो अर्थतन्त्र

सेकेन्ड ह्यान्डमा सरर...

- नुमा थाम्सुहाङ

काठमाडौं, टोखाका आत्मज श्रेष्ठ स्कुटर चलाउँछन् । तर, खाल्डाखुल्डी सडकमा स्कुटर चलाउन जोखिमपूर्ण भएकाले उनी कार किन्ने सोचाइमा छन् । ‘मैले लाइसेन्स लिएको धेरै भएको छैन । स्टेयरिङमा राम्ररी हात बसिनसकेकाले सेकेन्ड ह्यान्ड कार किन्न लागेको छु,’ उनले भने, ‘रिकन्डिसनको गाडी नयाँजस्तो नभए पनि नराम्रो हुँदैन । सस्तोमा पनि आउँछ ।’
दुईपांग्रे वा चारपांग्रे सवारी साधन आवश्यक परेका तर नयाँ लिने आर्थिक हैसियत नभएकाहरूका लागि सेकेन्ड ह्यान्ड सवारीको बजारले राहत दिएको छ । यसले गाडी चढ्न धेरैको रहर पनि पूरा गरिदिएको छ ।
रिकन्डिसनमा भएको सवारी साधन बिग्रिएको हुन्छ भन्ने सोच गलत रहेको सेकेन्ड ह्यान्ड सवारीका विक्रेताहरू बताउँछन् । ड्राइभिङ सेन्टरले पनि भर्खर सिकेकाहरूलाई प्रायः सेकेन्ड ह्यान्ड गाडी लिन सुझाव दिने गर्छन् । ‘पुरानो गाडीमा हात बसाएपछि नयाँ लिन्छु,’ आत्मजले भने ।
ललितपुरको बालकुमारीस्थित पशुपति कार सेन्टरका अशोक श्रेष्ठले नयाँ लिन नसक्ने अवस्था नभएका मानिसलाई लक्षित गरेर ९ वर्षदेखि सेकेन्ड ह्यान्ड कारको किनबेचमा लागेको बताए । ‘सबैले नयाँ गाडी लिन सक्दैनन्,’ उनी भन्छन्, ‘सेकेन्ड ह्यान्ड कार भने कम लागतमै लिन सकिन्छ । आफ्नो आवश्यकता पूरा हुन्छ ।’
अशोकले पुरानो गाडीलाई रिपेयर गरेर नयाँजस्तै बनाएर बेच्ने गरेको बताए । ‘नयाँ गाडी किनिसकेपछि चित्त नबुझेर बेच्दा धेरै घाटा बेहोर्नुपर्छ,’ उनले भने, ‘पुरानो गाडीमा थोरै दाम थपेर अर्को लिन सकिन्छ । पुरानो गाडी किन्दा ऋण पनि थोरै पर्छ ।’ पुराना गाडी ग्राहकहरू र डिलर सोरुमबाट लिने गरेको उनले बताए । ‘डिलरले आफ्ना ग्राहकसँग साटेर पुरानो गाडी लिन्छन् । ती गाडी हाम्रोमा आइपुग्छन्,’ उनले भने ।
अशोकले पुरानो गाडी लिँदा प्राविधिकलाई देखाउने गरेको बताए । ‘गाडीको इन्जिन, लुक्स, टायर, गियर, बिमाको कागजपत्र सबै हेरेपछि मात्र लिने गर्छौं । ठोकेको र पल्टेको गाडी लिँदैनौं,’ उनले भने, ‘रिकन्डिसनको गाडीमा हामीले धेरै मिहिनेत गरेका हुन्छौं । पुरानो गाडीलाई नयाँजस्तै बनाएर बिक्री गर्नुपर्छ । ग्राहकले गुनासो गर्ने बाटो राखेका हुँदैनौं ।’ अशोकले महिनामा १५ वटा गाडी बिक्री हुने र एउटा गाडीबाट २० हजारसम्म नाफा लिन सकिने बताए ।
अहिलेको समयमा हरेक व्यक्तिको चाहना मोटरसाइकल भएको छ । नयाँ मोटरसाइकल महँगो हुन्छ । यही समस्यालाई ख्याल गर्दै अन्जनकुमार श्रेष्ठले बानेश्वरमा १२ वर्षदेखि तेज अटो इन्टरप्राइजेज सञ्चालन गर्दै आएका छन् । ‘सेकेन्ड ह्यान्ड बाइक आवश्यक परेको हुन्छ तर सबैसँग नयाँ किन्ने क्षमता हुँदैन,’ उनले भने, ‘त्यस्ता ग्राहकलाई लक्षित गरेर यो सोरुम सुरु गरेको हो । पैसा नभएका ग्राहकलाई खुसी बनाउने हाम्रो लक्ष्य हो ।’
सेकेन्ड ह्यान्ड मोटरसाइकल भन्नासाथ बिग्रिएको हुन्छ भन्ने बुझाइ धेरैमा हुन्छ तर अञ्जन यो कुरा मान्दैनन् । ‘हामी बाइकको इन्जिन, चक्का, टायरलगायत सबै पाटर््स हेर्छौं,’ उनले भने, ‘कागजपत्र हेरेर र यातायात विभागबाट स्वीकृतिपत्र ल्याएपछि मात्र लिन्छौं ।’
आफ्नो आर्थिक अवस्थालाई हेरेर मानिसले सेकेन्ड मोटरसाइकल लिन्छन् । यस्तो मोटरसाइकल नयाँजस्तै देखिन्छन् । अञ्जनले सोरुमहरूबाट पुराना मोटरसाइकल ल्याइने गरेको बताए । ‘केहीले मात्र यहाँ ल्याएर बेच्छन्,’ उनले । अञ्जन महिनामा २० वटासम्म मोटरसाइकल बेच्छन् । ५ देखि ७ जनासम्म ग्राहक सेकेन्ड ह्यान्ड मोटरसाइकल बेच्नका लागि आउने गरेको उनले सुनाए । अनामनगरका राज जीसीले सेकेन्ड ह्यान्डकै सोरुमबाट किनेर मोटरसाइकल चलाइरहेको सुनाए । ‘सेकेन्ड ह्यान्डक मोटरसाइकल राम्रै हुन्छ,’ उनले भने, ‘अहिले दाइका लागि त्यस्तै मोटरसाइकल लिन खोजिरहेको छ,’ उनले भने । कुनै व्यक्तिबाट भन्दा रिकन्डिसनको सोरुमबाट मोटरसाइकल लिँदा सहज र विश्वासिलो हुने उनले बताए । ‘कम मूल्यमा आफूलाई मन परेको मोटरसाइकल लिन सकिन्छ । पैसा पनि बचत हुन्छ,’ उनले भने ।सेकेन्ड ह्यान्ड बजारले फेरी–फेरी सवारी साधन चढ्ने सोख भएकाहरूको पनि इच्छा पूरा गरिदिएको छ ।