You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

'भूपरिवेष्टितबाट भूजडित बन्न सघाउँछौं'

राष्ट्रपति सीको प्रतिबद्धता
- देवेन्द्र भट्टराई,दुर्गा खनाल
नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका तर्फबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गरिँदै । साथमा राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर ः अंगद ढकाल/कान्तिपुर

(काठमाडौं) - चीनका राष्ट्रपति सी चिनफिङले नेपालीको ‘भूपरिवेष्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालको दुईदिने राजकीय भ्रमणमा शनिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा सम्बोधन गर्दै भने, ‘दुई मुलुकबीच बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्नेछौं र भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने नेपालको सपना साकार तुल्याउन मद्दत गर्नेछौं ।’ नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा चीनले हरसम्भव साथ–सहयोग दिने बताउँदै सीले केरुङ–काठमाडौं सुरुङमार्ग निर्माण अगाडि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरे ।
राष्ट्रपति सीले सम्बोधनका क्रममा चीनले नेपालको आर्थिक विकासको आकांक्षालाई सघाउने र नेपाल पनि त्यसको कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्ने मनसाय व्यक्त गरेका थिए । उनले नेपालको विकासमा साझेदारी गर्न चीन तत्पर रहेको र नेपालले पनि ‘अघि सारिएका योजनाहरू पूरा गरेरै छाड्नुपर्ने’ बताए । ‘हामीले बनाएका योजना पूरा गरेरै छाडौं । हामीले चीनमा पनि यस्तै गर्ने गरेका छौं,’ राष्ट्रपति सीले भने ।
चिनियाँ राष्ट्रपतिले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गरिने घोषणा पनि गरे । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नति गर्ने पनि उनले बताए । नेपालले अपेक्षा गरेका योजनाहरूलाई आफ्नो सम्बोधनमा राष्ट्रपति सीले बुँदागत रूपमा उल्लेख गरेका थिए ।
‘केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अघि बढाउन हामी सक्रिय हुनेछौं,’ राष्ट्रपति सीले भने । नेपालसँग जोडिएका उत्तरी नाकाहरू खोल्ने विषयमा पनि चिनियाँ राष्ट्रपतिले आफ्नो सम्बोधनमा छुटाएनन् । बढीभन्दा बढी नाका खोलेर बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माण गर्ने राष्ट्रपति सीको घोषणा थियो ।
‘मलाई आशा छ– दुई देशका जनताबीचको समझदारी आउने दिनमा अझ बढ्नेछ,’ राष्ट्रपति सीले भने । नेपालमा भूकम्पपछिका परियोजनाहरूलाई सक्रियताका साथ अघि बढाइरहेको प्रसंगसमेत राष्ट्रपति सीले जोडेका थिए ।


‘नेपालको राजनीतिक स्थायित्व, सामाजिक
सद्भाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु । भविष्यप्रति मेरा आशाहरू जागेका छन्,’ सीले सम्बोधनमा भने, ‘मलाई आशा छ, दुई देशले अझ घनिष्ट राजनीतिक सम्बन्ध राख्नेछन् ।’ दुई देशबीचको दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा दुई देशले विश्वमै आपसी मैत्री सम्बन्धको नमुना प्रस्तुत गरेको भन्दै उनले ‘चीन र नेपालको सम्बन्ध बीचमा केही समस्या छैन, मित्रतामात्रै छ’ भनेर राजकीय भोजमा उपस्थित सहभागीको स्याबासी बटुलेका थिए ।
राष्ट्रपतिले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्ने प्रतिबद्धता पनि सुनाए । उनले स्पष्ट शब्दमा ‘लुम्बिनी बुद्धको जन्मस्थल हो’ भन्दै संसारमा सबभन्दा बढी बौद्धमार्गी चीनमा रहेकाले आगामी दिनमा बौद्धमार्गी थुप्रै चिनियाँ नेपाल भ्रमणमा आउने विश्वास व्यक्त गरे । चीनमा बुद्धधर्म ‘स्थानीय धर्म’ बनिसकेको सन्दर्भ उल्लेख गर्दै उनले यो धार्मिक सम्बन्धले पनि आपसी मैत्री बढाउन काम गर्ने बताए ।
‘मलाई आशा छ, दुवै देशले अझ बढी बहुपक्षीय सहकार्य गर्नेछन्,’ राष्ट्रपति सीले भने, ‘जलवायु परिवर्तनबारेको नेपाली चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ । यस विषयमा नेपाली पक्षले राखेका उपयुक्त मागलाई चीनले समर्थन गर्नेछ । हामी साझा हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर रहनेछौं ।’ उनले आफ्नो सम्बोधनको सुरुमा उपस्थित सबैलाई नमस्ते भनेका थिए । त्यसपछि पनि एकाध नेपाली वाक्य उल्लेख गर्दै उनले नेपाल र चीनबीच असल दाजुभाइको सम्बन्ध रहेको बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सीलाई स्वागत गर्दै नेपालको पूर्वाधार निर्माणसहित विभिन्न पक्षमा चिनियाँ लगानी तथा सहयोगको अपेक्षा पेस गरिन् । उनले सीमापार कनेक्टिभिटीका लागि पूर्वाधार सुधार गर्नुपर्ने कुरामा नेपालले जोड दिँदै आएको पनि उल्लेख गरिन् । ‘नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग जोडिएको हेर्न चाहेका छन्,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘रेलवेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीहरूको यो चाहना छिट्टै पूरा हुने हाम्रो विश्वास छ ।’
राष्ट्रपति भण्डारीले पछिल्लो समयमा चर्को बहसमा रहेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) को चिनियाँ अभियानमा विश्वका १५० भन्दा बढी राष्ट्र र दर्जनौं संघसंस्था पक्षधर बनिसकेको सन्दर्भ आफ्नो मन्तव्यमा समेटेकी थिइन् ।

‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमा सी चिनफिङ विचारधारा जनता केन्द्रित विकासको एक महत्त्वपूर्ण दर्शन बनेको छ,’ राष्ट्रपतिको भनाइ थियो, ‘चीनको विकासमा चिनियाँ नेताको सक्षम र दूरदर्शी नेतृत्व एवं परिश्रमी चिनियाँ जनताको साथ महत्त्वपूर्ण रहेको छ भन्ने मलाई लाग्छ ।’
यसअघि राष्ट्रपति सीसँगको भेटमा भएको छलफलबाट अभिप्रेरित हुँदै ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न चीनसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेको भण्डारीले उल्लेख गरिन् । उनले नेपालमा चिनियाँ लगानी सुरक्षा हुने प्रत्याभूति दिलाउँदै लगानीकर्तालाई लगानीका लागि आह्वान गरिन् ।
‘हामीले जतिसक्दो चाँडो अति कम विकसित मुलुकबाट स्तरोन्नत हुँदै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा परिणत हुने उद्देश्य राखेका छौं,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यस उद्देश्य प्राप्तिका लागि हाम्रो आन्तरिक स्रोतसाधन पर्याप्त नहुने हुँदा हामीलाई वैदेशिक लगानीको खाँचो छ । हामी चिनियाँ लगानीकर्ताहरूलाई उत्पादनशील क्षेत्र, पूर्वाधार तथा जलस्रोत विकासलगायत सामाजिक क्षेत्रमा लगानी गर्न आह्वान गर्छौं, सरकारले लगानीको पूर्ण सुरक्षा गर्नेछ ।’
चीनले अहिलेसम्म नेपाललाई गरेको सहयोगको राष्ट्रपति भण्डारीले प्रशंसा गरिन् । नेपालको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रता र नेपाली जनताले छनोट गरेको विकासको पथलाई चीनले समर्थन गर्दै आएको भण्डारीले उल्लेख गरिन् । ‘नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ, नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधिहरूका लागि प्रयोग हुन नदिने हाम्रो प्रतिबद्धतालाई व्यवहारमा उतार्न हामीले सबै प्रकारका ठोस उपायहरू अवलम्बन गर्दै आएका छौं,’ राष्ट्रपति भण्डारीले भनिन् ।
राष्ट्रपति भण्डारीले शान्ति, स्थायित्व र विकासका लागि बहुपक्षीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र चीन सँगै उभिँदै आएको उल्लेख गर्दै साझा चासोका क्षेत्रीय सवालहरूमा पनि सहकार्य जारी राखेको बताइन् । ‘विधिमा आधारित विश्वव्यवस्थाले चुनौती व्यहोर्नुपरेको वर्तमान अवस्थामा विकासोन्मुख राष्ट्रहरूबीचको ऐक्यबद्धता र सहकार्य अपरिहार्य छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘शान्तिपूर्ण, न्यायोचित तथा समावेशी विश्वव्यवस्था निर्माणका लागि चीनले खेल्दै आएको सकारात्मक भूमिकाको हामी प्रशंसा गर्दछौं ।’
राष्ट्रपति भण्डारीले यसअघि आफ्नो चीन भ्रमण क्रममा हस्ताक्षर भएका महत्त्वपूर्ण दस्तावेजमध्ये पारवहन तथा यातायात साझौताको प्रोटोकलले चीनका तीनवटा भू–बन्दरगाह र चारवटा सामुद्रिक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको प्रसंग पनि सम्बोधनमा जोडिन् ।
चीन र नेपालबीच शताब्दीऔंदेखि सामाजिक सांस्कृतिक सम्बन्ध र सम्पर्क रहिआएको उल्लेख गर्दै सम्बन्धलाई नयाँ उचाइमा लैजाने अन्य प्रशस्त सम्भावनाहरू पनि रहेको बताइन् । ‘पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध, घनिष्ठ, मजबुत र समस्यारहित छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘हाम्रो सम्बन्ध सागरजस्तै गहिरो र सगरमाथाजस्तै उचो छ ।’
राजकीय भोजका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यसचिव लोकदर्शन रेग्मी, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेको मुख्य टेबलमा सहभागिता थियो ।
पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, शेरबहादुर देउवा तथा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसहित समाजका विभिन्न क्षेत्रका दुई सयभन्दा बढी विशिष्ट प्रतिनिधिको उक्त राजकीय भोजमा उपस्थिति थियो । त्यहाँ नेपाली र चिनियाँ भाषाका विभिन्न गीतसंगीत पनि प्रस्तुत गरिएको थियो ।


शीतलनिवासमा राष्ट्रपति सी
शनिबार अपराह्न राजकीय भोजको समारोह सुरु हुनुअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले पहिलो औपचारिक भेट राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा गरेका थिए । विमानस्थलबाट सोल्टी होटल पुगेपछि केहीबेर आराम गरी राष्ट्रपति सी शीतलनिवास पुगेका थिए । भेटमा राष्ट्रपति भण्डारीले नेपालले चीनसँगको सहकार्य थप दरिलो ढंगले अघि बढाउन चाहेको बताएकी थिइन् । त्यहाँ उनले चीनले नेपाललाई पुर्‍याएको सहयोगका लागि धन्यवाद दिएकी थिइन् । उनले नेपालको उपादकत्व वृद्धि गर्नका लागि चिनियाँ लगानीको अपेक्षा गरेको उल्लेख गरेकी थिइन् । त्यस्तै नेपाल र चीनबीचको व्यापार घाटा कम गर्नका लागि नेपाली सामानलाई चीनमा सहज प्रवेशका लागि थप अनुकूल स्थिति सिर्जना गर्न आग्रह गरेकी थिइन् ।
शीतलनिवासको भेटमा चिनियाँ राष्ट्रपति सीले नेपालले लिएको सुखी नेपाली समृद्ध नेपालको सपनामा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

मुख्य पृष्ठ

भव्य स्वागत

- जगदीश्वर पाण्डे

(काठमाडौं) - राष्ट्रपति सी चिनफिङ शनिबार पौने ५ बजे एयर चाइनाको विशेष विमानबाट काठमाडौं उत्रिए । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ–वेमै पुगेर विशेष स्वागत गरेकी थिइन् । अति विशिष्ट कक्षको प्रवेशद्वारमा पञ्चकन्याले फूलको माला दिएर स्वागत गर्दा सी निकै प्रफुल्लित देखिन्थे । त्यसपछि नेपाली सेनाले सम्मानगारत (आर्ड अफ अनर) अर्पण गरेको थियो । उनको सम्मानमा २१ तोपको सलामी दिइयो । लगत्तै सीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागत गरे । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्ष शशिकला दाहाल, प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङफे, सुरक्षा निकायका प्रमुखहरू, मुख्य–सचिव लोकदर्शन रेग्मीसहित सचिवहरू, संवैधानिक निकायका प्रमुखहरूले स्वागत गरेका थिए ।
अति विशिष्ट कक्षबाहिरै नेपाल प्रहरीको टोलीले विभिन्न भेषभूषा झल्कने झाँकी प्रदर्शन गरेको थियो, जसलाई सीले उत्साहपूर्वक हेरेका थिए । उनले झाँकीलाई इंगित गर्दै राष्ट्रपति भण्डारीलाई प्रतिक्रियासमेत दिएका थिए । स्कुले बालबालिकाले सीलाई चिनियाँ भाषामै बोलेर स्वागत गरेका थिए । प्रत्युत्तरमा सीले हात उठाउँदै धन्यवाद दिएका थिए । अति विशिष्ट कक्षमा छिरेलगत्तै सी सोल्टी होटलका लागि निस्किए । सडकका विभिन्न चोकमा नेपाली नागरिकले भव्य स्वागत गरेका थिए । झाँकीसमेत प्रस्तुत गरिएको थियो । सीको भ्रमण टोलीमा ९० भन्दा बढी प्रतिनिधि छन् । शनिबार सी नेतृत्वको टोली दुइटा विमानमा आएको हो । यसअघि नै अन्य प्रतिनिधि नेपाल आइसकेका थिए ।
चीनका राष्ट्रपतिबाट २३ वर्षको अन्तरालमा नेपाल भ्रमण भएको हो । यसअघि तत्कालीन राष्ट्रपति जियान जेमिनले सन् १९९६ डिसेम्बर ५–६ मा नेपाल भ्रमण गरेका थिए । त्यो बेला चीन सन् १९७९ बाट अंगालेको उदार अर्थतन्त्रलाई रोडम्याप बनाएर अघि बढेको थियो । एक्काईसौं शताब्दीको सुरुवातसँगै चीन विश्वको ठूलो आर्थिक शक्ति बन्ने होडमा दौडिरहेको छ । अहिले चीन त्यो सूचीमा अमेरिकापछि दोस्रो नम्बरमा छ ।


मेनुमा कुरिलो र क्वाँटी
राष्ट्रपति भण्डारीले शनिबार बेलुकी राष्ट्रपति सी बसेकै सोल्टी होटलमा राजकीय भोज (स्टेट ब्यांक्वेट) आयोजना गरिन् । भोजमा सीका लागि नेपाली खानाको मेनु तयार पारिएको थियो । सीलाई सुरुआती खानाका रूपमा बारा, मःमः र लुक्लाको सिमीसँगै साँधेको भटमास राखिएको थियो । सुप मेनुमा कुरिलो र क्वाँटीको रस राखिएको थियो । मेन मेनुमा पट रोस्ट ल्याम्ब राखिएको थियो । साथमा इलामको चिया र गुल्मीको कफी पनि राखिएको थियो । भोज सुरु हुनुअघि राष्ट्रपति भण्डारीले पहिलो सम्बोधन गरिन् । त्यसपछि चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरे । सम्बोधनका अन्त्यमा दुवैले ‘टोस्ट’ गरेका थिए । त्यसपछि भोज औपचारिक रूपमा सुरु भएको थियो ।

Page 2
फोटो फिचर

२३ वर्षपछि चिनियाँ राष्ट्रपति काठमाडौंमा

- कान्तिपुर संवाददाता
नेपालको राजकीय भ्रमणमा आएका चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार शीतलनिवासमा स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सम्मानगारत ग्रहण गर्दै सी, साथमा राष्ट्रपति भण्डारी ।


शीतलनिवासमा द्विपक्षीय वार्तामा चीनका राष्ट्रपति सी र राष्ट्रपति भण्डारीसहितको टोली ।

सीलाई स्वागत गर्न सडकमा ब्यानरसहित चिनियाँ नागरिक ।

विमानस्थलमा सीलाई स्वागत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली ।


होटल सोल्टीमा आयोजित राजकीय रात्रिभोजलाई सम्बोधनपछि एकआपसमा शुभकामना आदानप्रदान गर्दै राष्ट्रपति भण्डारी र सी ।

त्रिभुवन विमानस्थलबाट चिनियाँ राष्ट्रपति सीको सवारी होटल सोल्टीतर्फ जाँदा बानेश्वरको दृश्य ।
तस्बिरहरू :
–अंगद ढकाल, प्रकाशचन्द्र तिमल्सेना र संजोग मानन्धर/कान्तिपुर
–रोशन सापकोटा, रत्न श्रेष्ठ र प्रदीपराज वन्त/रासस

Page 3
समाचार

रातभर हेलिकप्टरबाट गस्ती

सी भ्रमण
- मातृका दाहाल

(काठमाडौं) - नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षामा नेपाली सेनाले रातभर हवाई गस्ती गरेको छ । शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन उपकरण जडित एमआई–२६ हेलिकप्टरले रातभर गस्ती गरेको हो ।
राष्ट्रपति सी विमानस्थल ओर्लनुअघि र पछि इकुरेल हेलिकप्टरबाट हवाई गस्ती गरिएको थियो । हवाई गस्तीका लागि अगुस्टा वेस्टल्यान्ड हेलिकप्टरलाई पनि तयार राखिएको छ । राष्ट्रपति सीको भ्रमण अवधिभर नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र चिनियाँ जनमुक्ति सेना गरी ४ तह तथा हवाई गस्तीबाट सुरक्षा व्यवस्थापन मिलाइएको हो ।
राष्ट्रपति सी विमानस्थल अवतरण गर्नुअघि नै कारकेड सवारी रुटमा पर्ने दायाँ–बायाँ सडक र अग्ला भवनमा हतियारसहितका सुरक्षाकर्मी तैनाथ गरिएको थियो । सी स्वदेश फिर्ता नभएसम्म स्थल र हवाई सुरक्षा जारी रहने नेपाली सेनाले जानकारी दिएको छ । सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले अति विशिष्ट सुरक्षा कार्यविधि–२०७० अनुसार हवाई र स्थल सुरक्षा प्रबन्ध मिलाइएको बताए । ‘भीभीआईपी सुरक्षा कार्यविधिअनुसार सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र चीनबाट आएका सुरक्षा अधिकारीलाई एउटै संयन्त्रअन्तर्गत तैनाथ गरिएको छ,’ उनले भने ।
प्रवक्ता पाण्डेका अनुसार चारवटै सुरक्षा निकायका १५ हजारभन्दा बढी जनशक्ति खटाइएको छ । प्रहरीले चक्रपथभित्र प्रवेश गर्ने सवारी र सर्वसाधारणलाई लक्षित गरेर सुरक्षा जाँचलाई पनि कडा बनाएको छ । सीको कारकेड रुटभित्र ओहोरदोहोर गर्ने सर्वसाधारको झोलासमेत खानतलासी गरिएको छ । भ्रमणकै लागि लागू गरिएको विशेष सुरक्षा योजनाअन्तर्गतको जनशक्तिलाई २४ सै घण्टा फिल्डमा तैनाथ गरिएको छ । सी भारतको राजकीय भ्रमण सकेर २ वटा जहाजका प्रतिनिधिमण्डलको नेतृत्व गरेर पौने ५ बजे काठमाडौं आइपुगेका हुन् ।


बलाधिकृत रथीको नेतृत्वमा सुरक्षा
राष्ट्रपति सीको सुरक्षा व्यवस्थापनसम्बन्धी सम्पूर्ण योजना बलाधिकृत रथी शरदकुमार गिरीको नेतृत्वमा रहेको संयन्त्रले मिलाएको छ । सेनाका उपरथी र प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका अधिकारीसमेत सम्मिलित उक्त संयन्त्रकै निर्देशनअनुसार सीको सुरक्षा व्यवस्थापन गरिएको हो । त्यही संयन्त्रअन्तर्गत सेनाका उपत्यका पृतनापति निरञ्जनकुमार श्रेष्ठको नेतृत्वमा गठित विशेष सुरक्षा सेलको प्रत्यक्ष कमान्ड–कन्ट्रोलमा विमानस्थलदेखि स्वागत स्थल र कारकेड सवारी रुटमा पर्ने सरकारी तथा निजी अग्ला भवन, दायाँ–बायाँ सडक पेटी, घुम्ती, पुल लगायतमा पनि जिम्मेवारी नदोहोरिने गरी सेना, प्रहरी र सशस्त्रका हतियारसहितका फौज तैनाथ गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपीको नेतृत्वमा कारकेड रुट–सडक सुरक्षा व्यवस्थापन, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालको नेतृत्वमा सवारी व्यवस्थापन तथा जाँच, अग्ला भवनमा सशस्त्रका फौज, नियमित गस्तीमा सेना तथा आवश्यक पर्ने अन्य जिम्मेवारी त्यहीअनुसार बाँडफाँट गरिएको गृह मन्त्रालयका अधिकारीले जानकारी दिए ।


सडक पेटी प्रयोगमा रोक
राष्ट्रपति सीको सवारीका बेला सुरक्षाका कारण सर्वसाधारणलाई दायाँ–बायाँ सडक पेटी प्रयोग गर्न दिइएको थिएन । सडकमा बसेर हेर्न दिइए पनि यताउता चहलपहल गर्न रोकिएको थियो । सीको सुरक्षा व्यवस्थाका लागि भन्दै नेपाल प्रहरीले ‘कारकेड सवारी’ अवधिभर विमानस्थल–तीनकुने–बानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर हुँदै कार्यक्रम स्थल सोल्टी होटलको सडक पेटी प्रयोगमा रोक लगायो । सोल्टीबाट नेपालका समकक्षी विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि शीतल निवास जाँदा र कार्यक्रम स्थल फर्किंदासमेत सडक पेटीमा सुरक्षाकर्मीबाहेक अरूलाई प्रवेश दिइएन । कारकेड सवारीका बेला यी रुटका सडक दायाँ–बायाँ सडक पेटी तथा किनारमा नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षा निकायका जनशक्ति परिचालन गरिएको थियो । महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी ढकालले कारकेड सवारी अवधिभर तोकिएको ठाउँमा बसेर स्वागत गर्न बाहेकलाई आफूखुसी ओहोरदोहोर गर्न नपाइने पूर्वनिर्धारित सुरक्षा योजनाअनुसार व्यवस्थापन गरिएको बताए । ‘सवारी सकिएपछि भने आवातजावतमा कुनै रोकतोक हुने छैन,’ उनले भने, ‘यस विषयमा ट्राफिक महाशाखाले ७ बुँदे नियम नै लागू गरिसकेको छ ।’


चोक–चोकमा सुरक्षाकर्मीका ब्यान्ड
सीको स्वागतका लागि सुरक्षा निकायका युनिटहरूले कारकेड सवारी रुटमा पर्ने चोकचोकमा सांस्कृतिक कला तथा संगीत प्रस्तुत गरेका थिए । प्रहरी, सशस्त्र प्रहरी, सेनाका युनिट तथा अन्य सामाजिक संघसंस्थाले सीलाई सडक किनारबाटै स्वागत गरेका थिए । सरकारी कर्मचारीहरूले सुरक्षाकर्मीले तोकेको क्षेत्रमा बसेर सीलाई स्वागत गरेका थिए ।

समाचार

यसरी बन्दै छ सिंहदरबार

- ऋषिराम पौड्याल
निर्माणाधिन अवस्थामा रहेको सिंहदरबार भवन ।तस्बिर ः अंगद ढकाल/कान्तिपुर

(काठमाडौं) - भूकम्पले क्षति पुर्‍याएको सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई तीन भागमा विभाजन गरेर पुनर्निर्माण पूरा गर्ने योजना अघि बढाइएको छ । भवनको पूर्वी भागको निर्माण धमाधम भइरहेको छ, बाँकी दुई भाग (बाहिरी र भित्री) को टेन्डर प्रक्रिया सुरु गरिएको छ ।
राणाकालदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालन भइरहेको उक्त भवनलाई चार वर्षअघि भूकम्पले कामै नलाग्ने गरी क्षति पुर्‍याएको थियो । भवनको सबै भाग भत्काएर नयाँ बनाउने कि पुरानैलाई मर्मत गर्ने, कस्तो सामान प्रयोग गर्ने भन्नेमा लामो समयसम्म विवाद भएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको उक्त भवनको अगाडि (पश्चिम) को मुख्य मोहडा, पूर्वतर्फको मुख्य प्रशासनिक भवन तथा त्यसभित्रको संरचनालाई छुट्टाछुट्टै भागमा विभाजन गरेर मर्मत गर्न
लागिएको हो ।
भवनको संरचना कस्तो हुने र पुरानो कलात्मक शैलीलाई कसरी जोगाउने भन्ने विषयमा सहरी विकास मन्त्रालय र पुरातत्त्व विभागबीच मतान्तरले काममा ढिलाइ भएको थियो । लामो छलफलपछि भवन निर्माणको सबै जिम्मेवारी पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) लाई दिइएको थियो । आयोजनालाई भवनको बाहिरी र भित्री भागको संरचना निर्माणको जिम्मेवारी दिइएको छ ।
आयोजनाका अनुसार अगाडिको भाग मर्मतका लागि टेन्डर प्रक्रिया सुरु गरिएको छ । पूर्वी भाग (साविकको मुख्य प्रशासनिक भाग) को पुनर्निर्माण करिब ७० प्रतिशत सकिएको आयोजनाका उपनिर्देशक झपर विश्वकर्माले जानकारी दिए । प्रशासनिक संरचनाका लागि प्रयोग हुने भित्री संरचनाको डिजाइन तयार गरेर टेन्डरको कागजपत्र तयार गरिँदै छ ।


कलात्मक शैली कायम राखिने दरबारको अगाडि (पश्चिम मोहरा) लाई पुरानै कलात्मक शैलीमा बनाउन सरकारले अन्तिम तयारी गरेको छ । भवनलाई चार वर्षअघिको भूकम्पले प्रयोग गर्न नसकिने गरी क्षति पुर्‍याएपछि मर्मत सम्भार हुन सकेको थिएन । आयोजना इकाईका उपनिर्देशक विश्वकर्माका अनुसार भूकम्पपछि फलामको टेको लगाएर राखिएको भवनको अगाडिको भाग मर्मतका लागि ठेकेदार छनोट गरिसकिएको छ । भवनको ग्राउन्ड फ्लोरसहित सबै चार तलामा रहेको कलात्मक वस्तुलाई उस्तै झल्कने गरी निर्माण गर्ने प्रस्तावसहितको टेन्डर शर्मा गौरी पार्वती न्यु टेक्निकल जेभीले पाउने निश्चित भएको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक करिब ४२ करोड लागतमा २ वर्षमा पूरा गर्ने सर्तमा उक्त कन्ट्रक्सन कम्पनीसँग दुई सातभित्रमा सम्झौता हुने उपनिर्देशक विश्वकर्माले जानकारी दिए । ‘अगाडिको भागमा रहेको कलात्मक शैलीका बस्तु र आर्टहरूलाई कसरी जोगाउने त्यसका लागि योजना बनाइरहेको छौं,’ उनले भने । चार तलाको उक्त भाग भने प्रशासनिक भवनको रूपमा प्रयोग नहुने र राणाकालीन समय बनाइएका कलात्मक वस्तुको अवलोकन गर्न मिल्ने गरी जस्ताको तस्तै बनाउन प्रयास गरिने छ । राणाकालीन समयमा काठ, इँटा, चुना आदि प्रयोग गरेर सिंहदरबार निर्माण गरिएको थियो ।
भवनमा महँगा धातुबाट बनेका कलात्मक वस्तु छन् । उपनिर्देशक विश्वकर्माका अनुसार सन् १९७३ जुन ९ अर्थात् विसं २०२९ सालमा सिंहदरबारमा आगलागी भएपछि केही भागमा सिमेन्ट प्रयोग गरेर मर्मत गरिएको देखिएको छ । सकभर पुरातत्त्वको हिसाबले पनि पहिलेको जस्तै संरचना बनाउने कोसिस हुने छ, विश्कर्माले भने । भवन बनेकै अवस्थामा प्रयोग भएका काठलाई जस्ताको तस्तै राखिनेछ ।


पूर्वी भागको निर्माण धामधम
भूकम्पअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालनमा रहेको भवनको पूर्वी भागको मर्मत करिब ७० प्रतिशत सकिएको छ । पुरानै संरचनालाई जोगाउने सरकारी निर्णयअनुसार उक्त भवनको इँटाको गारोलाई फलामको रडको जालीजस्तो बनाएर बाहिरी भागबाट कभर गरिएको छ । ठाउँ–ठाउँमा रडले कसेर बाहिरबाट सिमेन्टको संरचनाले ढाकेर निर्माण भइरहेको छ ।
प्रवलीकरण (रेट्रोफिटिङ) प्रविधिबाट निर्माण भइरहेको कार्यको ठेक्का सम्झौता २०७५ जेठ २० गते भएको थियो । आगामी मंसिरमा पूरा गर्नुपर्ने सझौता भए पनि हाल करिब ७० प्रतिशत मात्र काम पूरा भएको छ । शर्मा न्यु टेक्निकल जेभीले १८ महिनामा पूरा गर्ने सर्तमा ठेक्का स्विकारेको थियो । तर ठेकेदारलाई तोकिएको समयमा साइट हस्तान्तरण गर्न नसक्दा काममा ढिलाइ भएको आयोजनाले जनाएको छ । उक्त खण्डको लागत इस्टिमेट भ्याटबाहेक करिब २६ करोड २६ लाख २० हजार रहेको छ । इँटा, बालुवा, सिमेन्टलगायतका वस्तुको परीक्षण गरेर मात्र प्रयोग गरिने कन्स्ट्रक्सन कम्पनीले जनाएको छ । गुणस्तर कायम गरेर पहिलेकै अवस्थाम तयार गर्ने कम्पनीले जनाएको छ ।


ॅहाइटेक’ प्रधानमन्त्री कार्यालय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रूपमा प्रयोग हुने सिंहदरबारको पूर्वपट्टिको चारतले भवनको भित्री भागमा अत्याधुनिक सुविधासहितको संरचना बनाउने तयारी गरिएको छ । पहिले प्रधानमन्त्री कार्यालय रहेको र भूकम्पछि हाल प्रयोगविहीन उक्त भवनको भित्री भागलाई मुलुकको नमुना र आधुनिक प्रविधिका सबै खाले सुविधा उपभोग गर्न मिल्ने गरी केन्द्रीय प्रशासनिक संरचना बनाइने छ । भित्री भागको गारोलाई काठैकाठले ‘ज्याकेटिङ’ (बाहिरी भागलाई ढाक्ने गरी) निर्माण गरिने छ । आयोजनाका अनुसार भित्री भागको डिजाइन तयार भइसकेको छ । यसका लागि करिब पौने अर्ब खर्च हुने प्रारम्भिक अनुमान छ । ‘केही समयमै यसको लागत र डिजाइनलाई अन्तिम रूप दिएर टेन्डर प्रक्रियामा जानेछौं,’ विश्वकर्माले भने ।
भवनको ‘इन्टरियर डिजाइन’ सकिएको छ । उक्त डिजाइनको स्केच र त्यसको उपयोगको विषयमा प्रधानमन्त्री केपी ओलीलाई पनि जानकारी गराइसकिएको छ । डिजाइनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ग्यालरी हल, इन्टिलिजेन्ट कार्यालय, मुख्य सचिव, सचिव, सल्लाहकार एवं निजी सचिवालयको कार्यालय बनाइनेछन् ।
यसैगरी, मन्त्रिपरिषद् बैठक हल, प्रदेश समन्वय परिषद् कार्यालय, मिडिया सेन्टर, राष्ट्रिय प्राथमिकता प्राप्त ठूला आयोजना अनुगमन सेन्टर, स्वास्थ्य इकाईलगायत सबै खालका सुविधासहितका संरचना निर्माण गरिने छन् । भवनमा प्रादेशिक संरचनाअनुसारका कार्यालयहरू पनि रहनेछन् । प्रधानमन्त्री तथा मुख्य सचिवको कार्यालय पहिलो तलामा हुने छ । प्रशासनिक भवनमा करिब ३ सय कर्मचारी अटाउने संरचना बनाइनेछ । ‘२०७७ भित्रमा भवन तयार गरेर प्रशासनिक काम त्यहींबाट सञ्चालन गर्ने योजना बनाइएका छौं,’ विश्कर्माले जानकारी दिए ।

समाचार

अतिरिक्त शुल्क समायोजन गरिँदै

- सुदीप कैनी

(काठमाडौं) - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी मेडिकल कलेजहरूले विद्यार्थीहरूबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने गृहकार्य थालेको छ । विद्यार्थीहरूले निर्धारितभन्दा बढी शुल्क फिर्ताको माग गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्रालयले अतिरिक्त रकम समायोजन छलफल सुरु गरेको हो ।
शिक्षा सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले मेडिकल कलेजहरूको शुल्क समायोजनलगायत विषयमा छलफल गरेको छ । ‘कुन मेडिकल कलेजले कति बढी शुल्क लिएका हुन् र कति फिर्ता गर्नुपर्ने भनेर यकिन पनि छैन,’ उनले भने, ‘शुल्क विवाद कसरी टुंगो लगाउने भनेर अनौपचारिक छलफल सुरु भएको छ ।’ कलेजहरूले लिएको अतिरिक्त रकम के–कसरी विद्यार्थी अभिभावकलाई फिर्ता गराउने या समायोजन गर्ने विषयमा छलफल केन्द्रित रहेको उनले जानकारी दिए ।
मेडिकल कलेजहरूको शुल्क विवादबारे छानबिन गर्न गठित प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले शुल्क समायोजन गर्न सरकारलाई सुझाएको थियो । उपसमितिले मेडिकल कलेजहरूको पक्षमा प्रतिवदेन दिएको भन्दै विद्यार्थीले असन्तुष्टि जनाउँदै आएका छन् । प्रधानमन्त्री कार्यालयले समेत शुल्क विवादको विषयमा उपसमितिकै सुझावअनुसार समायोजन गर्न निर्देशन दिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
६ महिनाअघि पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीसित एक महिनाभित्र बढी लिएको रकम फिर्ता गर्ने सहमति गरेको थियो । उक्त कलेजले अहिलेसम्म शुल्क फिर्ता नगरेपछि विद्यार्थीहरू पुनः आन्दोलित छन् । चितवन मेडिकल कलेजले लिएको अतिरिक्त रकम असोज अन्तिम सातासम्म फिर्ता गर्ने सहमति जिल्ला प्रशासन कार्यालयको अग्रसरतामा भएको हो । सहमतिअनुसार बढी रकम फिर्ता गर्ने प्रक्रिया सुरु नभएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीले विरोध जनाउँदै आएका छन् ।
चिकित्सा शिक्षा आयोग गठन हुनुअघिको शुल्क विवादमा आयोगले सरकारलाई नै कार्यान्वयन गर्न आग्रह गरेको थियो । त्यसपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा बैठक डाकेर एक महिनाभित्र शुल्क फिर्ता नगर्ने कलेजलाई ठगीमा मुद्दा चलाउने निर्णय लिएका छन् । बैठकले असोज अन्तिमसम्म शुल्क फिर्ता नगरे जिल्ला प्रशासन कार्यालयमार्फत मेडिकल कलेज सञ्चालकलाई ठगी मुद्दा चलाउने चेतावनी दिएको छ । कलेजहरूले भने विद्यार्थीबाट लिएको शुल्क कर र मुनाफामा जोडिएकाले फिर्ता गर्न नसक्ने तर्क गर्दै आएका छन् । त्यसै कारण पनि शुल्क फिर्ताभन्दा समायोजन गर्ने बाटो रोज्न खोजिएको हो ।
यसअघि शिक्षा मन्त्रालयले अतिरिक्त रकम फिर्ता गराउन विश्वविद्यालयहरूलाई निर्देशन दिएको थियो । यसपटक भने मन्त्रालयले सिधै मेडिकल कलेजहरूलाई शुल्क समायोजन गर्न निर्देशन दिन लागेको छलफलमा सहभागी एक उपसचिवले जनाए । आगामी शैक्षिक सत्रका लागि शुल्क निर्धारण गर्न आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको संयोजकत्वको समितिले गृहकार्य गरिरहेको छ । यसअघि कलेजहरूले असुलेको अवैध रकम समायोजन गर्न लागिएको हो । त्रिभुवन र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका अधिकांश कलेजले एमबीबीएस, बीडीएससहित चिकित्सा शिक्षाका विषयमा बढी रकम लिएको छानबिनका क्रममा भेटिएको थियो । उक्त रकम फिर्ता नगरे देशभरका मेडिकल कलेजहरूमा आन्दोलन चर्काउने चेतावनी विद्यार्थीहरूले दिँदै आएका छन् ।

समाचार

चिनियाँ लगानी स्वागत गर्छौं : देउवा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हित र समृद्धिमा सहयोग पुग्ने परियोजनाहरूमा चिनियाँ लगानीको आफूहरूले स्वागत गर्ने बताएका छन् । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेटमा उनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई आफूहरूको समर्थन रहेको धारणासमेत राखेका छन् ।
राष्ट्रपति सीले काठमाडौं उत्रेपछि सत्तारुढ दलका नेताहरूभन्दा पहिले प्रमुख विपक्षी दल कांग्रेसका सभापति देउवालाई छुट्टै भेटेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको औपचारिक भेटपछि सीले उनलाई सोल्टी होटलमै २० मिनेट भेटेका हुन् । भेटमा देउवाले नेपालमा सञ्चालित परियोजनामा चिनियाँ लगानीको अपेक्षा गरेको बताएका थिए ।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार राष्ट्रपति सीले एक चीन नीतिको पक्षमा कांग्रेसले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबीचको पार्टीगत सम्बन्ध विस्तारबारे पनि कुरा भएको थियो । राष्ट्रपति सीले पार्टीगत सम्बन्ध विस्तारमा आफूहरूको जोड रहेको उल्लेख गर्दै आगामी दिनमा सम्बन्ध थप सुदृढ बनाउँदै लैजानुपर्ने बताएका थिए । कांग्रेसले पनि यसअघि चिनियाँ कम्युनिस्ट पार्टीसँगको पार्टीगत सम्बन्ध विस्तारको अपेक्षा राखेको थियो । त्यही अपेक्षाअनुसार शनिबारको भेटमा कुराकानी भएपछि राष्ट्रपति सीले पार्टीगत सम्बन्ध झन् राम्रो बनाउने बताउँदै देउवालाई चीन भ्रमणको निम्तो दिएका छन् ।


राष्ट्रिय सभा अध्यक्षसँग भेट
चिनियाँ राष्ट्रपति सीसँग संघीय संसदका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले छुट्टै शिष्टाचार भेट गरेका छन् । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल राजनीतिक स्थायित्व हासिल गरी समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै मित्रराष्ट्र चीनको सहयोग अपरिहार्य रहेको बताएका थिए ।
‘नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ, चीनविरुद्ध नेपालमा कुनै गतिविधि हुन दिँदैनौं,’ सीसँगको भेटमा अध्यक्ष तिमल्सिनाले भनेका थिए । चीनले अगाडि सारेको बीआरआईमा नेपाल साझेदार बन्न पाउँदा आभारी रहेको उल्लेख गर्दै उनले उक्त परियोजना सफलताको शुभकामना पनि दिए । भेटका क्रममा राष्ट्रपति सीले नेपालका लागि सबै किसिमका सहयोग गर्न चीन तयार रहेको बताएका थिए । उनले नेपालको संसदको तर्फबाट नेपाली सांसदहरूलाई चीन भ्रमणका लागि निमन्त्रणा दिएका थिए ।
चीनका राष्ट्रपति सीले आइतबार बिहान पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेट्दै छन् ।

Page 4
वाग्मती प्रदेश

ललितपुरमा चलेनन् ब्रुमर

- सीमा तामाङ

(ललितपुर) - ललितपुर महानगरपालिकाले साउनमा दुई ब्रमुर खरिद गरेको थियो । मेयर चिरिबाबु महर्जनले ललितपुरलाई स्मार्ट सिटी बनाउने अभियान अनुरुप ब्रुमर खरिद गरेको बताएका थिए । ‘महानगरको शहरी क्षेत्रमा धूलो सफा गर्नका लागि दुई ब्रुमर पर्याप्त हुन्छ,’ एक कार्यक्रममा मेयर महर्जनले भनेका थिए । साउनमा उद्घाटन गरेको ब्रुमर हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
महानगरका जिन्सि शाखाका प्रमुख सागर थापाका अनुसार ब्रुमर सञ्चालनमा ढिलाई भएको छैन । ‘तिहार लगत्तै महानगरभित्रका सडकमा ब्रुमर सञ्चालन हुन्छ,’ उनले भने । ब्रुमर चलाउन ५ चालक दैनिक ज्यालामा राखिएको थियो । हाल प्रयोगात्मक परिक्षा, अन्तर्वातालगायत सम्पुर्ण प्रकृया पुरा गरी दशै अघि नै ३ चालकलाई स्थायी नियुक्त दिइसकेको उनले बताए । पहिलो चरणमा कुपन्डोलदेखि लगनखेलसम्मका सडक खण्ड ब्रुमरले सफा गर्ने भनिएता पनि रूट तय तय नभएको उनको भनाई छ ।
महानगरले टेण्डर प्रक्रियाद्वारा जेनटेक प्राइभेट लिमिटेड कम्पनीबाट युरो–४ एमिसन स्ट्यान्डर्डका ब्रुमर खरिद गरेको हो । ब्रुमर सञ्चालनका लागि कम्पनीले महानगरका ५ जनालाई तालिम पनि दिइसकेको महानगरले जनाएको थियो । कम्पनीले इटालीमा निर्माण भएको दुई ब्रुमर ४ करोड ४८ लाख ११ हजार २ सय ८० (भ्याट सहित) रुपैयाँमा खरिद गरी महानगरलाई हस्तान्तरण गरेको थियो । डिजेलबाट चल्ने ब्रुमरको ६ सय २० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता छ । ब्रुमरको अगाडि एउटा, दायाँबायाँ २ र विचमा १ गरी ४ ओटा ब्रस र पछाडि एउटा भ्याकुमक्लिनर समेत छ । ब्रुमरको १२५ किलोवाट इन्जिन क्षमता छ ।
महानगरसँग पुरानो प्रविधिको सानो ब्रुमर पनि छ । पुरानो प्रविधिको भएकाले सञ्चालनमा ल्याउन सकेको छैन । धेरै धुलो फ्याक्ने र वातावरण प्रदुषण गर्ने भएकाले सञ्चालनमा ल्याउन नल्याएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । त्यसैले महानगरलाई धूलोमुक्त सहर बनाउन नयाँ प्रविधिका ब्रुमर खरिद गरेको उनले बताए ।
महानगरले गत २७ मंसिरमा ब्रुमर खरिद गर्न टेन्डर आहृवान गरेको थियो । म्याप इन्टरप्राइजेज, टाइल ब्रदर, बर्ल्ड वाइड ट्रेडिङ कम्पनी र जेन टेक प्रालि टेन्डर प्रक्रियामा सहभागी भएका थिए । जसमध्ये जेन टेक प्रालिले २७ पुस ०७५ मा ब्रुमर खरिद गर्ने जिम्मा पाएको थियो ।

 

वाग्मती प्रदेश

गोदावरीमा अन्तर्राष्ट्रिय सम्मेलन हल

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– ललितपुरको गोदावरीमा ३ हजार जना अटाउने अत्याधुनिक प्रविधियुक्त सम्मेलन हल निर्माण हुने भएको छ । सहरी विकास तथा भवन विभागले हल निर्माणका लागि डिजाइन तयार गरेर टेन्डर प्रक्रिया टुंयाउने अन्तिम तयारी गरेको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मेलनका लागि आधुनिक हलको खाँचो महसुस भएपछि सरकारले १ सय १८ रोपनी क्षेत्रफलमा फैलिएको सम्मेलन केन्द्र बनाउन लागेको हो ।
साउन्ड सिस्टम, लबी, भीभीआईपी कक्ष, ब्रेकआउट रुमलगायतका संरचनासहितको उक्त हलमा सबै खालका सुविधा उपलब्ध हुने व्यवस्था मिलाइएको छ । निर्माणका लागि ६ वटा कन्सट्रक्सन कम्पनीले टेन्डरका लागि आवेदन दिएकोमा प्राविधिक मूल्यांकनपछि पूर्व छनोटमा ३ कम्पनी परेका छन् । टेन्डरमा सबै नेपाली कन्स्ट्रक्सन कम्पनीले आवेदन दिएका थिए । भवन विभागका सिनियर डिभिजन इन्जिनियर प्रकीर्ण तुलाधरका अनुसार ३ कम्पनीको आर्थिक प्रस्तावको मूल्यांकन गरेर २ साता भित्र एक कम्पनीलाई छनौट गरिनेछ । ७२ करोड लागत अनुमान गरिएको उक्त केन्द्रको भवन ठेक्का सम्झौता भएको ५ महिनाभित्रमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।
हाल बानेश्वरस्थित संसद बैठक सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय केन्द्रमा ठूला खालका सम्मेलन हुँदै आएको छ । हलको निर्माण ‘फास्ट–ट्रयाक’ मा गर्ने उद्देश्यले मन्त्रिपरिषद्को निर्णय अनुसार छोटो बाटो अपनाएर टेन्डर आह्वान गरिएको थियो । विभागका महानिर्देशक मणिराम गेलालका अनुसार सरकारले आयोजना गर्ने कार्यक्रमहरूका लागि पनि तारे होटल खोज्नुपर्ने समस्या हल गर्न यसको निर्माण छिटो गर्नुपर्ने गर्नुपर्ने बाध्यता छ । ‘सरकारले आवश्यकता महसुस गरेकोले हामीलाई छिटो पूरा गर्नुपर्ने दबाब छ,’ गेलालले भने । यस अघि यही महिनामा संघीय संसद भवन र मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निर्माणका लागि प्रधानमन्त्री केपी ओलीले सिलान्यास गरिसकेका छन् । संसद् भवन सिंहदरबारको पुतली बगैंचा र मुख्यमन्त्रीको आवासीय भवन भैंसेपाटीमा बन्न लागेको हो ।

वाग्मती प्रदेश

चाँगुनारायण अस्तव्यस्त

विश्वसम्पदामा सूचीकृत मन्दिर जीर्णोद्धार भएको डेढवर्षमा पनि वरिपरि रहेका सत्तल व्यवस्थित गरिएको छैन
- लीला श्रेष्ठ
भक्तपुरको चाँगुनारायण मन्दिरमा परिसरमा राखिएका निर्माण सामग्री । तस्बिर ः लिला/कान्तिपुर

(भक्तपुर) - बालुवा, गिट्टी यत्रतत्र थुपारिएको छ । डन्डी त्यत्तिकै छोडिएको छ । पार्कको ढलान उप्किएर बाहिरै डन्डी देखिन्छ । यो दृश्य हो, चाँगुनारायण मन्दिर बसपार्कको । यत्रतत्र छरिएका निर्माण सामग्रीमा अल्झिएर लड्ने डर उत्तिकै छ । यहाँ पुग्ने जो कोही पनि जोगिएर हिँड्नुपर्छ ।
बसपार्कबाट अलि अघि बढ्नेबित्तिकै सिँढीको दायाँबायाँ निजी घरको निर्माण सामग्री थुपारिएको छ । यहाँ पनि बसपार्कभन्दा फरक दृश्य छैन । ‘सिँढी उक्लिसकेपछिको अवस्था अझै कुरूप लाग्छ,’ भक्तपुरबाट घुम्न पुगेकी सुमित्रा मचामसीले भनिन्, ‘जोगिएर हिँड्नुपर्छ, मन्दिर प्रवेशद्वार नै धरापमा छ, मन्दिर परिसरको चौघेरा सत्तल क्षतिग्रस्त छ ।’ भूकम्पको धक्काले क्षतिग्रस्त मन्दिर परिसरको चौघेरा सत्तलमा झार उम्रिएको छ । इँटा, काठलगायत निर्माण सामग्री थुपारिएको छ ।
ऐतिहासिक चाँगुनारायण मन्दिर भूकम्पपछि जीर्णोद्धार भएको डेढ वर्ष भइसके पनि चौघेराका सत्तलहरू भने अझै जीर्ण नै छन् । चौघेरा सत्तलको जिम्मा पाएको ठेकेदार कम्पनीले पुनर्निर्माणका लागि भन्दै सत्तलको जगको खाल्डो खन्न सुरु गरेको महिनौं बितिसक्यो । अझै काम देखिएको छैन ।
मन्दिरको मूल पुजारी पाटी क्षतिग्रस्त छ । अस्तव्यस्त चौघेरा सत्तलले पर्यटकीय गन्तव्य चाँगुनारायण मन्दिर परिसर नै कुरूप देखिएको छ । चाँगुनारायण मन्दिर भक्तपुरको पर्यटकीय आकर्षणको एक प्रमुख केन्द्र भए पनि व्यवस्थित हुन सकेको छैन ।
सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ । तर, विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरमा पर्यटक वृद्धि गर्ने पक्षमा सम्बन्धित निकाय मौन छ । ‘न पर्यटकका लागि केही सुविधा छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि व्यवस्थित शौचालयको सुविधा छैन,’ पथप्रदर्शक छिरिङ घलेले भने, ‘भएकोमा पनि चुकुल बिग्रिएको छ । पानीको सुविधा पनि छैन ।’ जीर्ण सत्तलको पुनर्निर्माण र जीर्णोद्धारको ढिलाइप्रति पर्यटक र स्थानीयको उत्ति नै गुनासो छ । चाँगुनारायण ४ का सत्यनारायण भँडेल सम्बन्धित निकायले चाँगुनारायण क्षेत्रको सम्पदा संरक्षणमा पर्याप्त ध्यान नदिएको बताउँछन् । मन्दिरको जीर्णोद्धार भएको धेरै समयसम्म पनि यसको चौघेरा पुनर्निर्माण नहुँदा मन्दिरको सुन्दरतामा असर परेको बताउँदै एक पर्यटकले भने, ‘मन्दिरको सौन्दर्य मात्र होइन, सत्तलका संरचना र सम्पदाको सुरक्षामा समेत चुनौती छ ।’
मन्दिर परिसरका सत्तलहरू जीर्ण भएका कारण मन्दिरको सौन्दर्यसमेत फिक्का लाग्ने आन्तरिक तथा बाह्य पर्यटक बताउँछन् । ‘विश्व सम्पदामा सूचीकृत क्षेत्रको यस्तो कुरूप अवस्थाले निराश बनाउँछ,’ चाँगुनारायण मन्दिरमा पर्यटक घुमाउन आइपुगेका पथप्रदर्शक घलेले भने, ‘यस्तो सम्पदा क्षेत्र हेरेर विदेशी पर्यटकले के सन्देश लिएर जान्छन् ? पर्यटन वर्ष घोषणा गरेर मात्र हुँदैन, भएका संरचनाको संरक्षण र व्यवस्थापन पनि गर्नुपर्छ । चाँगुनारायण आएर एक रात पर्यटक बस्न चाहे बस्ने व्यवस्था खोई ।’ स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायले सम्पदा क्षेत्रको चाँडो जीर्णोद्धार गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने उनको सुझाव छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारले सम्पदा संरक्षण, सुरक्षा र सौन्दर्यमा उत्तिकै ध्यान दिनुपर्ने उनी बताउँछन् ।
स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) ले मन्दिर र सत्तलको महत्त्वपूर्ण पुरातात्त्विक निर्माण सामग्री संरक्षणका लागि जस्तापाताको टहरा बनाएर भण्डारण गरेको छ । अझै कतिपय पुरातात्त्विक सामग्री खुला आकाशमा छरिएको चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्याय बताउँछन् । ‘क्षतिग्रस्त सत्तल पुनर्निर्माण नहुँदा चाँगुनारायण मन्दिर दर्शनका लागि आउने भक्तजनले निराशा व्यक्त गर्छन्,’ उनले भने, ‘सत्तल अस्तव्यस्त छ, टाउको लुकाउने ठाउँ छैन ।’ नगरपालिकाले चाँगुनारायण मन्दिर अवलोकनका लागि आउने बाह्य पर्यटकको प्रवेश सेवा शुल्क उठाउने गरेको छ तर, मन्दिर क्षेत्र संरक्षणका लागि कुनै कार्य नगरेको स्थानीयको गुनासो छ ।
पुरातत्त्व विभाग भक्तपुरले भने चाँगुनारायण मन्दिर चौघेरा सत्तलको पुनर्निर्माण थालनी भइसकेको जनाएको छ । विभाग प्रमुख मोहनसिं लामाका अनुसार चौघेरा सत्तल पुनर्निर्माणका लागि २०७५ माघ २ मा लुम्बिनी/सानु सुवाल/पवन जेभीसँग सम्झौता भई मन्दिर परिसरको दक्षिण पश्चिमतर्फ जग खनिसकेको छ ।
उत्तर, पश्चिम र पश्चिमतर्फको पाटीमध्ये मूल पुजारीको सामान राख्ने सत्तलबाहेक क्षतिग्रस्त संरचना भत्काइएको उनले बताए । ‘मूल पुजारीको पूजा सामग्री राख्ने ठाउँ अभावमा चरणबद्ध पुनर्निर्माण गर्ने तयारी भएको छ,’ उनले भने । मन्दिरको उत्तर पश्चिमतर्फ भने भूक्षय हुन सक्ने जोखिम रहेकाले टेको पर्खालपछि मात्र सत्तल पुनर्निर्माण गर्नुपर्ने देखिएको पुरातत्त्व विभाग भक्तपुर प्रमुख लामा बताउँछन् । सत्तल निर्माणका लागि पुरातत्त्व विभागले सुरुमा २४ करोड रुपैयाँ लागत अनुमान निकालेको थियो । बोलपत्र प्रक्रियामा जाँदा निर्माण कम्पनीसँग करसहित १६ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुर प्रमुख लामाले बताए ।
२०७८ असार १५ भित्र चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तल निर्माण गरिसक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको छ । सत्तल पुनर्निर्माणका लागि निर्माण सामग्री ओसारपोसारमा समेत समस्या देखिएको कार्यालयले जनाएको छ । निर्माण सामग्री मन्दिर परिसर पुर्‍याउन नयाँ प्रविधि अपनाउन खोजे पनि सफल नभएको लामाले बताए । सत्तल पुनर्निर्माणका लागि कलात्मक झ्याल, ढोका आवश्यक पर्ने र पर्याप्त काठको अभावका कारण पनि समयमा काम हुन नसकेको पुरातत्त्व विभागले जनाएको छ ।

वाग्मती प्रदेश

सिनो हाइड्रोसित मेलम्चीको अर्को ठेक्का

- कान्तिपुर संवाददाता

(काठमाडौं) - मेलम्ची खानेपानी विकास समिति र चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबीच मेलम्ची खोलामा बाँध बाँधी सुरुङमा पानी डाइभर्सन गर्ने ‘हेड वर्क्स’ निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।
मेलम्ची आयोजनाको सुरुङ निर्माणको बाँकी कामको ठेक्का पाएको सिनो हाइड्रोले दोस्रो ठूलो संरचना ‘हेड वर्क्स’ समेत १ अर्ब २ करोड रुपैयाँमा बनाउने जिम्मा पाएको हो । समिति र सिनो हाइड्रोबीच शुक्रबार हेड वर्क्स निर्माणका लागि ठेक्का सम्झौता भएको जानकारी आयोजनाका अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार सिनो हाइड्रोले यसअघि नै सुरुङको बाँकी कामको पहिलो ठेक्का सम्झौता गरी प्रारम्भिक काम सुरु गरिसकेको छ । सिनो हाइड्रोले ७५ करोड रुपैयाँमा सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको छ ।
ठेक्का सम्झौतामा सिनो हाइड्रोले १५ महिनामा ‘हेडवर्क्स’ को काम सम्पन्न गर्नुपर्ने सर्त छ । १५ दिनमा स्थलगत अध्ययन गरेर काम सुरु गर्ने गरी ठेक्का सम्झौता भएको जानकारी आयोजनाले दिएको छ । हेड वर्क्सको काम तोकिएको समयभन्दा अगाडि सकिए आयोजनाले सिनो हाइड्रोलाई बोनस दिने भएको छ । तोकिएको समयभन्दा जति दिन अगाडि सकिन्छ, ठेकेदार कम्पनीले त्यति दिन काम गरेबापतको बोनस पाउने छ । बोनस पाउन ठेकेदारले काम छिटो सक्ने विश्वास आयोजनाका अधिकारीहरूको छ ।
हेड वर्क्स निर्माणका लागि १५ महिनाको समय दिइए पनि सुरुङको काम त्योभन्दा अगाडि सकिने भएकाले कम्तीमा एक वर्षभित्रै मेलम्चीको पानी राजधानी आइपुग्ने दाबी खानेपानी मन्त्रालयको छ । मेलम्ची खोलामा हेड वर्क्स निर्माण सम्पन्न हुनुअघि सामान्य बाँध बनाएर पानी डाइभर्सन गरी सुरुङ हुँदै सुन्दरीजलको प्रशोधन केन्द्रमा ल्याउन र राजधानीमा वितरण गर्न सकिने मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
इटालियन निर्माण कम्पनी सीएमसीले झन्डै एक वर्षअघि काम छोडेर हिँडेपछि समितिले ठेक्का तोडेको थियो । त्यसपछि सिनो हाइड्रोलाई आयोजनाका मुख्य दुई संरचना सुरुङको बाँकी काम र हेड वर्क्स निर्माण गर्ने छुट्टाछुट्टै ठेक्का दिइएको हो । मेलम्ची आयोजनाका अरू संरचना निर्माणको काम भने नेपाली ठेकेदार कम्पनीलाई दिइएको छ ।
सीएमसीले ठेक्का तोडेका कारण मेलम्चीको खानेपानी राजधानी ल्याउने समयतालिका एक वर्ष पछाडि धकेलिएको छ । यही दसैंमा आयोजना निर्माण सम्पन्न गरी मेलम्चीको पानी राजधानी ल्याइसक्ने समयतालिका थियो ।

वाग्मती प्रदेश

प्रयोग गरिँदैन आकाशे पुल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सुनधारामा दुईटा आकाशे पुल छन् । त्यसको सय मिटर दूरीमा नेपाल वायु सेवा निगमको कार्यालय अगाडि अर्को आकाशे पुल छ । रानी पोखरी र टुँडिखेल परिक्रममा गर्ने सुन्धारा–रत्नपार्क–जमल–बागबजार–शहिदगेट सडकमा मात्रै अन्डर ग्राउन्ड पाससहित १० आकाशे पुल छन् । आकाशे पुलसँगै विभिन्न स्थानमा ट्राफिक चिन्ह पनि राखिएको छ । बाटो पार गर्न पर्याप्त आकाशे पुल हुँदाहुँदै ती स्थानमा सडकबाट बाटो काट्ने पैदल यात्रुको कमी छैन । वीर अस्पताल क्षेत्रमा प्रतिमिनेट १० जनाभन्दा बढी पैदल यात्रुले सडकबाट बाटो काटिरहेका हुन्छन् । शुक्रबार भोटाहिटी क्षेत्रमा खटिएका ट्राफिक प्रहरी राजाराम कार्की पैदल यात्रुलाई बाटो काट्न आकाशे पुल प्रयोग गर्न अनुरोध गर्नमा व्यस्त देखिन्थे । तैपनि अटेर गरी जोखिम मोलेर बाटो काट्नेको भीड देखिन्थ्यो ।
उनी भन्छन्, ‘पैदल यात्रु आफैलाई सुरक्षाका लागि आकाशे पुल प्रयोग गर्न अनुरोध गरेका हौं । अटेर गर्नेलाई के भन्ने, कारबाही गरेर साध्य छैन ।’ उनका अनुसार आकाशे पुल प्रयोग गरेमा १५ देखि २० सेकेन्ड समय बढी जान्छ । ‘सबै पैदल यात्रुलाई गन्तव्यमा पुग्न हटार छ,’ उनले भने, ‘व्यवहारमा सुधार नगरिकन कारबाही गरेर मात्र हुदैन ।’ पैदल यात्रुलाई ट्राफिक नियम पालना गर्न अनुरोध गर्नेमा उनी मात्र होइन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार उनी जस्तै सडकको चोक/चोकमा ट्राफिक प्रहरी जनपथ विशालबजार, सिहदरवार र महाशाखाबाट दैनिक खटिने प्रहरी छन् । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जथाभावि बाटो काट्नेलाई कडा कारबाहीको व्यवस्था नहुदा समस्या बढ्दो रहेको बताए । ‘जथाभावी बाटो काट्दा दुर्घटनामा परेमा क्षतिपूर्ति नपाउने व्यवस्था ल्याउनुपर्छ,’ उनले भने, ‘२ सय रुपैया मात्र जरिवाना तिराउने प्रावधान छ । त्योपनि लागु छैन ।’ उनले सडक पेटीमा पर्याप्त बार नहुँदा पनि जथाभावि बाटो काट्ने क्रम बढ्दो रहेको बताए । महाशाखाका तथ्यांक अनुसार उपत्यकामा २०६८/६९ देखि २०७६/०७७ सम्म पैदल यात्रुको लापरबाहीका कारणले एक सय ५७ जनाले ज्यान गुमाइसकेका छन् ।

Page 5
समाचार

ठेक्काका काम गुणस्तरहीन

- प्रकाश बराल

(बागलुङ) - गलकोटको मल्मदेखि रिघा जाने सडकमा दुई खण्ड छुट्याएर काम गरिएको छ । एउटा खण्डमा प्रदेश सरकार र अर्कोमा स्थानीय सरकारले लगानी गरेका छन् । ५०–५० लाख लगानीका दुवै खण्डको गुणस्तरमा भने समानता छैन ।
प्रदेश सरकारको बजेटबाट नयाँ युग कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको छ । ५० प्रतिशत रकम घटाएर ठेक्का पारेको उक्त कम्पनीले २४ मिटर ढलान गरेको छ, त्यो पनि जीप मात्र गुड्न सक्ने गरी । त्यसबाहेक झन्डै १ सय मिटर भित्तामा ताछिएको छ । गलकोट नगरपालिकाले पनि झन्डै ४ किमि सडकको भित्ता ताछेको छ । ३ किमि खण्डमा नाली निर्माण गरेको छ । केही स्थानमा पहिरो नियन्त्रणका लागि पर्खाल पनि बनाएको छ ।
‘कुनै सवारीसाधन चढेर त्यहाँ पुग्दा अप्ठ्यारो खण्ड प्रदेश सरकारको र सजिलो खण्ड नगरपालिकाको लगानीको हो,’ गलकोट–९ का वडाध्यक्ष त्रिलोक थापाले भने, ‘जनताको आँखा छलेर किन यस्तो काम गर्छन् ?’ उक्त खण्डमा कसले काम गर्‍यो, कहिले सकियो र कति लगानी गरियो भन्ने कुनै समन्वय नभएको उनले बताए । प्रदेश सरकारकै ५० लाख लगानीको बागलुङ बजारदेखि तित्याङ र भकुन्डे जाने सडकमा पनि यस्तै फरक देखिन्छ । बुकेनी खण्डमा २० मीटर पहिरोमा तारजाली लगाइएको छ । कल्भर्ट र केही खण्डमा नाली बनाइएको छ तर बागलुङ नगरपालिकाले उत्तिकै रकमले सालबोटदेखि भकुन्डेसम्मको धेरै सडक स्तरोन्नति गरेको छ । केही खण्डमा संरचना पनि बनेका छन् ।
स्थानीय तहले गर्ने काममा तत्कालै अनुगमन हुनुका साथै स्थानीयको श्रमदान जोडिने गरेको छ । यसको परिणाम पनि सकारात्मक देखिने गरेको छ तर प्रदेश र संघीय सरकारको बजेट आएको कार्यक्रममा स्थानीय तहलाई कुनै समन्वय गरिँदैन । ‘काम भएको भन्ने मात्र हुन्छ, समन्वय गर्ने चलनै रहेनछ,’ जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘लागत स्टिमेट गर्ने र मूल्यांकन गर्ने एउटै व्यक्ति भएकाले काम गुणस्तरहीन देखियो ।’
पूर्वाधार विकास कार्यालयका डिभिजन इन्जिनियर दयाराम अधिकारीले भने गुणस्तरीय काम भएको दाबी गरे । ‘काम नभएको खण्डमा भुक्तानी रोकेका छौं, लागतभन्दा कममा ठेक्का दिएका छौं,’ अधिकारीले भने, ‘नेपाल सरकारको सार्वजनिक खरिद प्रक्रियामा भएको अधिकार प्रयोग गरेर ठेक्का लिएकालाई हामीले केही भन्न सक्दैनौं ।’ थोरै पैसा लगानी भएकाले थोरै काम भएको उनले बताए । जनप्रतिनिधि भने पैसा बचाएको निहुँमा गुणस्तरहीन काम गर्न नपाइने बताउँछन् । ‘थोरै पैसा लगानी भयो भनेर उम्कँदा जनताको अधिकार खोसियो,’ ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले भने, ‘सबै रकम सदुपयोग हुने गरी काम गर्ने वातावरण बनाउनुपर्छ ।
उपभोक्ता समितिलाई नै अमानतमा काम गर्ने वातावरण बनाए विनियोजित बजेट सबै खर्च हुन्छ ।’ पक्की पुललगायत केही जटिल प्रकारका काम मात्र ठेक्कामा लगाउने, सडक निर्माण, पर्खाल बनाउनेजस्ता काम उपभोक्ता समितिबाटै गराउँदा राम्रो हुने उनले बताए । प्रतिनिधिसभाका सांसद सूर्य पाठक भने नेपालको सार्वजनिक खरिद ऐनबाट चुस्त र गुणस्तरीय काम हुन नसक्ने देखेर परिमार्जनको तयारी भएको बताउँछन् । ‘यो ऐनले ढिलासुस्ती, कमिसन र गुणस्तरहीन काम गर्ने अवस्था रहेछ,’ उनले भने, ‘संशोधन गरेर तोकिएकै समय र बजेटमा काम गर्ने संयन्त्र बनाउनुपर्छ ।’
गुणस्तरहीन काम गर्ने ठेकेदारलाई तत्काल कारबाही गरेर लाइसेन्स खारेज गर्ने, तत्कालै अर्को ठेक्का लगाउन पाउने चुस्त कानुन बनाउन पहल गरिने उनले बताए । केही काममा उपभोक्ता समितिमार्फत पनि ठेक्का दिने चलन बढेको छ । गत वर्षको महालेखा परीक्षकको प्रतिवेदनले अधिकांश उपभोक्ता समितिका काममा ठेकेदारको बिल पेस भएको ठहर गरेको छ । ‘अधिकांश काममा ठेकेदारको कम्प्युटर प्रणालीको बिल पेस भएको देखियो,’ महालेखा परीक्षकको कार्यालयका निर्देशक पदमबहादुर बस्नेतले भने, ‘उपभोक्ता समितिले पनि ठेक्का दिएको बुझियो ।’ ठेकेदारले २० देखि ३५ प्रतिशतसम्म कम मूल्यमा टेन्डर हाल्ने र उक्त रकमको केही प्रतिशत श्रमदानका नाममा लगानी गरेको देखाइएको उनले बताए ।
केही स्थानीय तहले गरेकै काम पनि गुणस्तरहीन देखिएका छन् । जैमिनी नगरपालिकाले साझेदारीमा गरेको कालोपत्रे एक महिना नपुग्दै उप्किएको थियो । उक्त स्थानमा लागत स्टिमेट तयार गर्दा नाली र पर्खालको डिजाइनसमेत नभएको पाइएको छ । ‘प्राविधिक तहबाट हामीले धोका पायौं, जसकारण बदनाम भयो,’ जैमिनी नगरप्रमुख इन्द्रराज पौडेलले भने, ‘संरचना अनिवार्य बनाउनुपर्छ भन्ने हेक्का प्राविधिकले राख्नुपर्थ्यो ।’ ठेकेदारको कमजोरीजस्तो देखिए पनि स्टिमेट गर्नेले त्रुटि गर्दा कालोपत्रे एक महिनामा उप्केको थियो । चालु वर्षदेखि हरेक विकास निर्माणका काममा कम्तीमा ४० प्रतिशत संरचना देखिने गरी बनाउनुपर्ने प्रावधान बनेको ढुंगानाले बताए । ‘अब ठग्ने, काम गरेझैं देखाएर खाने प्रवृत्ति अन्त्यका लागि विधि बनेको छ,’ उनले भने, ‘जिल्ला समन्वय समितिले प्रभावकारी अनुगमन गर्न नियमावली पनि आइसकेको छ, त्यसले कडाइ गर्छ ।’ मुख्य सडक र ठूला आयोजनाको अनुगमनका क्रममा संरचनाभन्दा डोजर लगाएर भत्काउने काम बढी देखिएको उनले बताए ।

समाचार

कर्णालीमा बर्सेनि बग्छ करोडौं

- ठाकुरसिंह थारू

(बर्दिया) - बर्दियाको राजापुर र कैलालीको टीकापुर नगरपालिका क्षेत्रलाई कटानबाट जोगाउन सरकारले पाँच वर्षअघि कर्णाली नदी नियन्त्रण आयोजना सुरु गर्‍यो । कटान नियन्त्रणमा उल्लेख्य प्रगति नदेखिएपछि आयोजनाको नाम नै परिवर्तन गरेर कर्णाली नदी व्यवस्थापन आयोजना राखियो । राजापुर नगरपालिकामा कार्यालय खोलेर काम थालियो । आयोजनाले वर्षाका बेला करोडौं रकमका टुक्रे तटबन्ध गर्छ । त्यो हरेक वर्ष नदीले बगाउँछ । कटान बग्दा नदी नियन्त्रणको प्रयास प्रभावहीन छ ।
यस वर्ष कर्णालीमा बाढी नै आएन तर नदीमा पानीको बहाव तीव्र हुने गरेकाले कटान समस्या उस्तै छ । राजापुरको चुनौरा, मुर्गौवालगागत स्थानमा निर्माण गरिएको पक्की तटबन्ध यसै वर्ष बग्यो । एक वर्ष नपुग्दै तटबन्ध भत्किएपछि दर्जनौं गाउँ कटानको जोखिममा छन् । ‘लागत अनुमानमै समस्या छ रे, त्यसैले तटबन्ध भत्किने गरेको छ । यसपालि पनि भत्कियो,’ स्थानीय अगुवा कृष्णप्रसाद जैसी भने, ‘अलिकति बन्छ, भत्केर जान्छ । पैसा मात्रै खेर गइरहेको छ ।’ पाँच वर्षयता करिब दुई अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
कर्णाली नदीको कटानलाई वैज्ञानिक रूपमै व्यवस्थापन गर्न आव ०७१/७२ मा आयोजना सुरु गरिएको थियो । आव ०८०/८१ मा उक्त आयोजना सम्पन्न गर्दा ११ अर्ब बजेट खर्च हुने अनुमान गरिएको छ तर टुक्रे तटबन्धले आयोजनाको लागत थप बढ्दै गएको छ । आयोजना पाँच वर्ष अझै लम्बिन सक्ने आयोजना कार्यालयको अनुमान छ । त्यसका लागि गुरुयोजना संशोधन गर्न केन्द्रमा प्रस्ताव पठाइएको छ । आयोजना प्रमुख केदारकुमार श्रेष्ठले चालु आवमा तटबन्ध निर्माणका लागि १५ करोड रुपैयाँ विनियोजन भएको बताए । गत आवको सातवटा ठेक्काको म्याद थपिने क्रममा छ । ती सबै ठेक्काको दायित्व १२ करोड तिर्नुपर्नेछ । ‘तीन करोड रुपैयाँको बजेटले कर्णाली नदीमा तटबन्ध गर्न असम्भव छ,’ उनले भने, ‘यो बजेटले काम गर्न नै अन्योल बनाएको छ ।’ कर्णाली नदी नियन्त्रण आयोजनाका लागि अर्थ मन्त्रालयबाट वार्षिक दुई अर्ब बजेट छुट्याउने भनिएको छ तर बजेट न्यून आउँछ । ‘बजेट अभावमा काम अगाडि बढाउन सकिँदैन,’ आयोजना प्रमुख श्रेष्ठले भने ।
राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले कटान तीव्र रूपमा भइरहेको तर नियन्त्रणको प्रयास सम्भव नरहेको बताए । उनले निर्माण गरिएको तटबन्ध पनि नदीमा बग्ने गरेको बताए । ‘कर्णालीमा तटबन्धका लागि स्थानीय सरकारबाट सम्भव छैन । केन्द्रले वार्षिक राम्रै बजेट छुट्याउँछ । निकासा भने आधा पनि आउँदैन,’ उनले भने, ‘समस्या बजेटकै हो । एकमुष्ठ बजेट पठाइदिएको भए टुक्रे तटबन्ध गरेर नदीमा बगाउने काम हुँदैनथ्यो ।’
आयोजना सुरु भएयता पाँच वर्षमा ४३ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य छ । हालसम्म लक्ष्यअनुरूप काम अगाडि बढेको छैन । कटानबाट प्रभावित गेरुवा गाउँपालिकाको वनघुस्रा, सनकट्टी, गुप्तीपुर एवं राजापुर नगरपालिकाको टिहुनी, नंगापुर, अनन्तपुर, सत्ती घाट र तिघ्रामा तटबन्ध निर्माण गरिएको छ । स्थानीय सुदीप ढुंगानाले निर्माणमा कमसल सामग्री प्रयोग गरिएका कारण तटबन्ध भत्किने गरेको आरोप लगाए । उक्त आयोजनामा कार्यरत तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेको घटनाले पनि अनियमितताको शंका गर्ने ठाउँ दिएको छ । तटबन्धको काम ठेक्का र उपभोक्ता समितिमार्फत हुने गरेको छ । तटबन्धको मापदण्ड ६ फिट अग्लो स्पट, १५ मिटर लन्चिङ र १४ मिटर चौडाइ रहेको छ ।


भारतीय बाँधले समस्या
कर्णाली नदीको पानीका लागि भारतीय पक्षले कैलाशपुरी बाँध निर्माण गरेको छ । बाँधमा तीन दर्जन ढोका छन् । बबई नदीका लागि बर्दिया सीमानजिकै गोपिया बाँध छ । भारतमा बबई नदीलाई सरयु नदी भनिन्छ । कैलाशपुरी बाँधले बर्दियाको राजापुर क्षेत्र र कैलालीका बस्ती डुबानमा पर्ने गरेका छन् । गोपिया बाँधका कारण गुलरिया नगरपालिकाको रत्नपुर, परसिया, बाँधुपुर, भादागाउँ, इन्द्रपुर, सुरजपुर, तुलसीपुर, जब्दी, भैसाही, मोहम्दपुरलगायत दर्जन बढी गाउॅ डुबानमा पर्छन् । बाँधले राजापुर नगरपालिकाका दुई दर्जनभन्दा बढी गाउँ डुबानमा पर्दै आएको स्थानीय शिवकुमारी चौधरीले बताइन् ।
बबईको पानी छेक्ने गोपिया बाँध खोलाउन स्थानीय प्रशासनले समन्वय गर्छ । ०७१ असारको अन्तिम साता आएको भीषण बाढीले बर्दियामा ठूलो क्षति पुगेको थियो । राजापुर नगरपालिकाका दुई दर्जन गाउँ डुबानमा परे । हजारभन्दा बढी सर्वसाधारणको बिचल्ली भएको थियो । स्थानीयका अनुसार भारतीय पक्षले कैलाशपुरी बाँधको ढोका खोल्न ढिलाइ गर्दा समस्या हुने गरेको छ । कैलाशपुर बाँधकै कारण ०६५ असोजमा कैलालीका दक्षिणपूर्वी गाउँका तीन सय घर बगेको र १३ जनाको मृत्यु भएको विपद् व्यवस्थापन समितिको तथ्यांक छ । बाढीबाट प्रभावित सर्वसाधारणले स्थायी समाधानको माग गर्दै आएका छन् ।

समाचार

पाइपलाइनमा काटिएका काठ पुनर्निर्माणमा

- कान्तिपुर संवाददाता

पर्सा (कास)– मोतिहारी अमलेखगन्ज तेल पाइप लाइनका लागि काटिएका पर्सा राष्ट्रिय निकुञ्जका काठ काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डप र भूकम्पले क्षति पुगेका व्यक्तिका घर पुनर्निर्माणमा प्रयोग भइरहेको छ । टिम्बर कर्पोरेसन शाखा कार्यालय पथलैयाले उक्त काठको व्यवस्थापन गरिरहेको छ । शाखा प्रमुख सुमन सिंहका अनुसार पुनर्निर्माणका अलावा स्थानीय मध्यवर्ती सामुदायिक वनलाई पनि ती काठ भागबन्डा गरिएको छ । परियोजनाका लागि टिम्बर कर्पोरेसनले करिब ६ किलोमिटर क्षेत्रका कुल ६ हजार ५ सय ६३ रूख काटेको थियो । त्यसबाहेक पातला (पोल) रूखहरू छुट्टै काटिएको थियो । १० इन्च डायमिटरभन्दा पातला रूखलाई पोल भनिन्छ । यो सामान्यतया झ्यालढोका तथा फर्निचर निर्माणमा उपयोगी हुँदैन । ती रूखबाट ३४ हजार क्युफिट काठ र २ सय ६२ चट्टा निस्किएको सिंहले बताए । काष्ठमण्डप पुनर्निर्माणका लागि २ हजार ३ सय क्युफिट तथा राधाकृष्ण र भीमेश्वर सामुदायिक वनलाई करिब १७ हजार क्युफिट काठ दिइएको छ । टीसीएनको हेटौंडास्थित चिरानमा काठ चिरेर काष्ठमण्डपलाई दिइएको सिंहले बताए । बाँकी काठ भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा प्रयोग भइरहेको छ । काठबाहेकका दाउरा पनि सामुदायिक वन उपभोक्ता समितिलाई वितरण गरिएको छ ।

समाचार

कांग्रेसको चियापान आज

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रमुख प्रतिपक्षी कांग्रेसले कोजाग्रत पूर्णिमाका अवसर पारेर आइतबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न १ बजे सुरु भई ५ बजेसम्म चियापान जारी रहने पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, लेखक, साहित्यकार लगायतलाई आमन्त्रण गरेको छ ।

समाचार

हलेसीको जग्गामा मुद्दै–मुद्दा

खोटाङको हलेसी मन्दिर क्षेत्र । तस्बिर ः डम्बरसिं/कान्तिपुर
- डम्बरसिं राई

(खोटाङ) - विभिन्न मुद्दाको अल्झोले हलेसीको पर्यटन विकासका योजनामा बाधा पुगेको छ । गुठीको जग्गामा स्थानीयले कब्जा जमाएपछि त्यसको अपनत्वको विषयमा परेका विभिन्न मुद्दाले विकासको काममा बाधा पुगेको हो ।
‘जग्गा कब्जा गर्ने र गुठी संस्थानबीच वर्षौंदेखि मुद्दामामिला छन्, छिटो छिनोफानो भइदिए मात्रै काम गर्न सकिन्थ्यो,’ हलेसी तुवाचुङ नगरप्रमुख इवन राईले भने, ‘हलेसी विकासको काम गरौं भन्यो एउटा एउटा नयाँ मुद्दा परिहाल्छ ।’
गुठीको जग्गा कब्जा गर्नेले जिल्ला अदालत काठमाडौं, जिल्ला अदालत खोटाङ, उच्च अदालत ओखलढुंगालगायतमा विभिन्न समयमा मुद्दा दायर गरेका छन् । हलेसीका प्रेमराज गिरीले गत असार १३ मा उच्च अदालत ओखलढुंगामा दायर गरेको मुद्दा भने किनारा लागेको छ । गिरीले आफ्नो जग्गामा नगरपालिकाले हस्तक्षेप गरेको भन्दै मुद्दा दायर गरेका थिए । न्यायाधीशद्वय गणेश बराल र राजेशकुमार काफ्लेको इजलासले दाबी नपुगेको भन्दै गिरीविरुद्ध फैसला गरेको उच्च अदालतका अधिकृत उद्धव ढोडारीले बताए । नगरपालिकाले घरटहरा भत्काएको र पुनः बनाउन नदिएको भन्दै परेको मुद्दा भने अझै विचाराधीन छ । त्यसो त स्थानीयले गुठी संस्थानको जग्गा कब्जा गरेको ठहर गरी उक्त जग्गा गुठीकै रहेको भन्ने गुठी संस्थानले गरेको फैसलाविरुद्ध जग्गा कब्जा गर्नेले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दा पनि विचाराधीन छ । यसैसँग सम्बन्धित खोटाङ जिल्ला अदालतमा दायर मुद्दा भने खारेज भएको छ । हलेसी मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष गजुरमान राईका अनुसार गुठी संस्थानले गुठीकै नाममा जग्गा कायम राख्ने फैसला गरेपछि यसप्रति चित्त नबुझाएकाहरूले काठमाडौं र खोटाङ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । गुठी संस्थानको निर्णयविरुद्ध दायर मुद्दा कार्य क्षेत्रबाहिरको रहेकाले खारेज भएको खोटाङ जिल्ला अदालतका स्रेस्तेदार लालबहादुर कार्कीले बताए । हलेसी मन्दिरका नाममा ९६ रोपनी तीन आना, तीन पैसा, तीन दाम जग्गा रहेको स्रेस्ता खोटाङस्थित मालपोत कार्यालयमा दर्ता छ । उक्त जग्गा विभिन्न कालखण्डमा बिक्रीवितरण र अतिक्रमण गरिएकाले त्यसको छिनोफानो हुनुपर्ने नगर प्रमुख राईले बताए । हाल यो क्षेत्रको बृहत् विकासका लागि गुरुयोजना निर्माणको चरणमा छ । केही वर्षअघि पनि हलेसी गुरुयोजना बनाएर निश्चित क्षेत्रभित्र भएका विभिन्न आठ घरघडेरीलाई मुआब्जा दिएर बाहिर पठाइएको थियो । मुआब्जा लिएर पनि नछाड्नेका कारण अहिले समस्या आएको स्थानीयले बताएका छन् ।
पुरानो गुरुयोजनाका बेला जग्गा रोक्का गरिएका थिए । पछि फुकुवा गरेर किनबेच भएको हलेसी विकास समितिका पूर्वनिर्देशक तामन राईले बताए । हलेसीस्थित महेन्द्रोदय माविलाई जग्गा दिन भनेर राजा वीरेन्द्रको भ्रमणपछि गुरुयोजना बनाइएको थियो । त्योबेला रोक्का गरिएको जग्गा हलेसी विकास समितिका तत्कालीन अध्यक्ष नारायणसिंह राई, निर्देशक देवराज कार्की, सदस्य तथा हलेसी गाविस अध्यक्ष कुम्भराज राईलगायतको सहमतिमा मालपोतबाट फुकुवा गरी लागत कट्टा नगरी त्यतिकै छाडिदिँदा अतिक्रमण गर्नेको मनोबल बढेको थियो ।

समाचार

दुई तिब्बती शरणार्थी पक्राउ

- कान्तिपुर संवाददाता

पोखरा (कास)– प्रहरीले दुई तिब्बती शरणार्थीलाई शनिबार पक्राउ गरेको छ । शंकास्पद गतिविधिमा संलग्न हुनसक्ने आशंकामा पोखराको पृथ्वीचोकबाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको नाम गोप्य राखिएको छ । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले पक्राउको पुष्टि गर्दै सुरक्षाका हिसाबले शंकास्पद लागेकाले नियन्त्रणमा लिइएको बताए । ‘उनीहरूका गतिविधि र कनेक्सनबारे अनुसन्धान भइरहेको छ,’ उनले भने । उनीहरू पोखराकै विभिन्न क्याम्पमा बस्ने हुन् या अन्त कतैबाट आएका हुन् भन्ने पनि अनुसन्धान भइरहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला चीनविरोधी गतिविधि हुनसक्ने भन्दै गण्डकी प्रदेशका ५ जिल्लामा रहेका तिब्बती शरणार्थी क्याम्पमा सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ । 

समाचार

असहायलाई प्रधानमन्त्रीपत्नीको टीका

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले मानवसेवा आश्रम सामाखुसीमा आश्रय लिइरहेकाहरूसँग दसैं मनाएकी छन् । शाक्यले शुक्रबार आश्रमका असहायहरूलाई टीका लगाई भोजन गराएकी हुन् । उनले आश्रमलाई ५० हजार रुपैयाँ सहयोगसमेत गरिन् । उनले असहायलाई सबैले सघाउनुपर्ने बताउँदै मुलुकलाई बेसहारारहित बनाउने अभियानलाई सरकारले प्राथमिकतामा राखेको पनि सुनाइन् ।

समाचार

मोटरसाइकल दुर्घटनामा मृत्यु

- कान्तिपुर संवाददाता

टीकापुर (कास)– पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा–३ चिसापानी नजिक शनिबार मोटरसाइकल दुर्घटना हुँदा टीकापुर–१ का २१ वर्षीय मदन शाहीको मृत्यु भएको छ । सोही ठाउँका अभिषेक सोडारी घाइते भएका छन् । टीकापुरबाट चिसापानीतर्फ जाँदै गरेको से७प १४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किएको प्रहरीले जनाएको छ । 

समाचार

स्याङ्जामा भेटियो अजिंगर

- कान्तिपुर संवाददाता

गण्डकी (कास)– स्याङ्जाको गल्याङ नगरपालिका–९ टेक्रेममा दुर्लभ अजिंगर फेला परेको छ । बुधबार भेटिएको अजिंगरलाई स्थानीयले उद्धार गरी संरक्षण गरेका छन् । स्थानीय युवाले सामान्य अवस्थामा जंगलमा भेटेका थिए । डिभिजन वन अधिकृत कोमलराज काफ्लेका अनुसार उक्त अजिंगर १२ फुट लामो छ ।

Page 6
सम्पादकीय

सडक सुरक्षाका सवाल

नेपालमा सडक दुर्घटनामा दिनहुँ ज्यान गुमाउनेको संख्या दसवर्षे माओवादी द्वन्द्वमा भन्दा बढी छ । प्रहरीका अनुसार सवारी दुर्घटनाका कारण दैनिक औसत सातजनाको निधन हुने गरेको छ । गैरसरकारी क्षेत्रले त यो संख्या अझ बढी भएको बताउँछ । मानिसहरूको आवागमन धेरै हुने दसैंजस्ता ठूला चाडबाडमा यस्ता घटना अझ बढी हुने गरेका छन् । सडकको दुरवस्था र चालकको लापरबाहीका अतिरिक्त यो बेला सवारीसाधनले क्षमताभन्दा निकै बढी यात्रु बोक्नाले पनि दुर्घटना बढी हुने गरेका हुन् ।
शुक्रबार मात्रै क्षमताको अनुपातमा तीन गुणाभन्दा बढी यात्रु लिएर सिन्धुपाल्चोकको भोटसिपाबाट काठमाडौं गइरहेको बस इन्द्रावतीको तिर्खुमोडमा सडकबाट खस्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ । सय जना घाइते छन् । कच्ची सडक हुँदै गुड्नुपर्ने ३४ सिटे बसले भार धान्नै नसक्ने गरी खचाखच यात्रु बोकेको थियो । यात्रुहरू गाडीको छतमा मात्रै बसेका थिएनन्, ढोकामा समेत उत्तिकै झुन्डिएका थिए । ‘ओभरलोड’ कै कारण बिहान ८ बजे हिँडेको बस दुई घण्टा नबित्दै दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
प्रहरीका अुनसार घटस्थापनायता मात्रै मुलुकमा सानाठूला गरी झन्डै ६ सय दुर्घटना भए । तिनमा ९८ जनाले ज्यान गुमाए । २ सय ७४ जना गम्भीर घाइते छन् भने ५ सय २८ जना साधारण घाइते । यसरी दुर्घटना हुनुका अनेक कारण छन् । कालोपत्रे भएकै सडक पनि सबै दुरुस्त र व्यवस्थित छैनन्, अधिकांश त कच्ची मात्रै छन् । एक तिहाइभन्दा बढी सडक इन्जिनियरिङ अध्ययनबिनै बनेका छन् । तिनमै सवारी दुर्घटना बढी हुने गरेका छन् । तीव्र गति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, ‘ओभरटेक’ सवारी दुर्घटनाका अरू कारक हुन् । सडकको अवस्था नाजुक हुँदाहुँदै पनि चालकहरू बढी आत्मविश्वास प्रदर्शन गर्छन् । बढी यात्रु बोक्ने र छिटो पुग्ने अस्वस्थ प्रतिस्पर्धाले पनि दुर्घटना बढाएको छ । मुलुकभर ३० लाखभन्दा बढी गाडी गुड्छन्, यो संख्या दिनानुदिन थपिँदै छ तर त्यसअनुसार सडकहरू पूर्वाधारमैत्री छैनन् ।
कति सवारीसाधन पनि सही हालतमा छैनन् । पुराना र कामै नलाग्ने पनि गुडिरहेका छन् । नियमित जाँचको व्यवस्था छैन । लामो दूरीमा चल्ने सवारीसाधनको परीक्षण हरेक ६ महिनामा गर्नुपर्ने सवारी तथा यातायात व्यवस्था ऐनको पालना भएको छैन । सवारीसाधनको ब्रेक, स्टेयरिङ, गियर, चेसिस, टायर, एक्सिलेटर, क्लजप्लेट, लाइट, पट्टा, सिट, झ्याल, रङ, बनोट, भारवहन क्षमता, हर्न, इन्जिनलगायत ठीक भए/नभएको बेलाबेलामा परीक्षण गराउनुपर्ने ऐनको व्यवस्था छ । तर गाडीको पार्टपुर्जा दुरुस्त भए नभएको जाँच हुने गरेको छैन, चालकहरूले उसै अनुमानका भरमा सवारी गुडाइरहेका हुन्छन् ।
बर्सेनि सडक दुर्घटना बढिरहँदा र दसैंमा यसको मात्रा अझ बढ्दा पनि न्यूनीकरणका सार्थक उपाय अपनाइएका छैनन् । राज्य, सवारीधनी, चालकहरू मात्र होइन, स्वयं यात्रु पनि सचेत भएको पाइँदैन । दुर्घटना न्यूनीकरण गर्न कानुनी व्यवस्था पालना गरेको/गराएको पाइँदैन । कानुनअनुसार लामो बाटोमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक ६ घण्टामा पालो फेर्नुपर्ने व्यवस्था छ । तर एउटै चालकले हजार किलोमिटरभन्दा बढी निरन्तर चलाइरहेका छन् । लामो दूरीमा चल्ने सवारीले प्रत्यक चार घण्टामा आधा घण्टा विश्राम गर्नुपर्ने व्यवस्थाको पनि पालना गरिएको छैन ।
चालकको श्रमशक्ति र सवारीसाधनको भार थाम्न सक्ने क्षमताबारे सवारीधनीहरू सचेत देखिँदैनन् । जस्तोसुकै बाटोमा, जसरी भए पनि बढी यात्रु ओसारेर पैसा कमाउने ध्याउन्नमा छन् उनीहरू । यात्रुहरू पनि आफ्नो सुरक्षा तथा सम्भावित जोखिम नहेरी जसरी पनि यात्रा गर्न पछि पर्दैनन् । यही कारण सडक सुरक्षाको अवस्था डरलाग्दो बनेको हो ।
दुर्घटना न्यूनीकरण गर्न सरकारले सडकको अवस्थाअनुसार मात्र गाडी चल्न दिइनुपर्छ । सार्वजनिक सवारी जाँच गर्ने प्रणाली बसाउनुपर्छ । निजी व्यवसायीहरूसित मिलेर यात्रुको चापअनुसार सार्वजनिक सवारीहरूको उचित व्यवस्थापन गर्नुपर्छ । र, कडाइका साथ सवारी नियमहरू पालना गराउनुपर्छ । नियम उल्लंघन गर्ने सवारीलाई घटनास्थलमै कारबाही गर्ने अधिकार तोकिएको यातायात निरीक्षकहरू भर्ना गर्नुपर्छ । सबै काम गरिरहेको ट्राफिक प्रहरीको दरबन्दी पनि सवारी संख्या र सडकको लम्बाइको अनुपात मिल्ने गरी वृद्धि गर्नुपर्छ । सवारी चाप बढेको बढ्यै गर्ने, सडक अवस्था उस्तै रहने र गाडीको अवस्था चालक पक्षमा ध्यान नपुर्‍याउने हो भने सवारी दुर्घटना अझ बढी रहन्छ । तसर्थ ठूलो घटना चासो देखाउने र फेरि उसैगरी भुल्ने चलन अन्त्य गर्नुपर्छ । सडक सुरक्षासित जोडिएका सबै पक्षको सुधारमा सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्छ ।

सम्पादकलाई चिठी

सीलाई स्वागत

- कान्तिपुर संवाददाता

चीनसँग नेपालको मित्रताको इतिहास लामो छ । त्यहीअनुरूपको ठोस सहयोग आदान–प्रदान भने खासै देखिएको छैन । विश्वको आर्थिक महाशक्ति बन्न थालेको चीनले नेपालको विकासमा ठूलो टेवा पुर्‍याउन सक्छ । चीनबाट रेल र तेलका कुरा कागजमै सीमित छन् । दुई–चार पार्टीका दुई–चार दर्जन नेताले चीन भ्रमण गर्दैमा नेपालको मुहार फेरिँदैन । त्यसका लागि ठोस नीति योजना र सहयोग चाहिन्छ । यसपालिको सी चिनफिङको भ्रमणबाट नेपालले कुन हदसम्म फाइदा लिन सक्छ भन्ने भविष्यमा प्रस्ट हुने नै छ । सीको रोड एन्ड बेल्ट परियोजनामा सहभागी भए पनि नेपालले अहिलेसम्म यसमा ठूला परियोजना हात पार्न सकेको छैन । केवल सी विचारधारा पढ्दैमा नेपालको विकास हुँदैन भन्ने तथ्य नेपाली नेताहरूले मनन गर्न सक्नुपर्छ । नेपाली नेृतत्वले सीलाई बुझाउन सक्नुपर्छ— ‘छिमेकी विपन्न भएसम्म तिमी मात्र सम्पन्न हुनुको अर्थ हुँदैन । यसर्थ नेपाललाई भित्री मनदेखि नै सहयोग गर ।’ भारततर्फको अधिक निर्भरता कम गर्न पनि चीन तर्फ व्यापार र निकासीपैठारी बढ्नुपर्छ । साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र मुक्तिनाथ घुमाए जस्तै गरी सीलाई पनि बुद्ध जन्मथल लुम्बीनी घुमाउन सकेको भए आउँदो नेपाल भ्रमण वर्ष सफल हुन्थ्यो कि !
– गोपाल देवकोटा, जोरपाटी काठमाडौं

‘सी आगमनको सन्देश’ शीर्षकमा प्रकाशित खबर पढेपछि नेपालले आँट गरेमा चीनसँगको सहकार्य, सहयोगबाट विकासमा नयाँ आयाम थपिने आशा राख्न सकिन्छ । चीनले विकासमा अभूतपूर्व सफलता प्राप्त गरेको, विश्व राजनीतिमा मजबुत पकड जमाएको ऐनमौकामा २३ वर्षपछि राष्ट्रपति सी चिनफिङको सौहार्दपूर्ण भ्रमण हुनु आफैंमा एउटा सन्देश हो । राष्ट्रपति सीको व्यक्तिगत अवधारणाबारे विश्लेषण गर्दा उनी भौतिक विकासको एकोहोरो मोडेलमा मात्र विश्वास नराख्ने नेताका रूपमा चित्रण गर्न सकिन्छ । विगत कोट्याएर हेर्दा राष्ट्रपति सीको साहित्य, कला, संस्कृति, पर्यावरण, कृषिजस्ता गैरराजनीतिक क्षेत्रमा उत्तिकै रुचि रहेको पाइन्छ । पछिल्लो समय उनी प्राचीन एसियाली सभ्यतालाई पुनर्जागरण गराउन लागिपरेको सन्दर्भ चर्चाको विषय बनेको छ । यता नेपाल भ्रमणका अवसरमा चीनसँग केरुङ–काठमाडौं रेलमार्ग डीपीआर, सडकलगायत झन्डै एक दर्जन आयोजना कार्यान्वयनबारे सम्झौता हुने विषय प्राथमिकतामा रहँदा निकट भविष्यमा यसबाट देशभर समृद्धिको झझल्को देखिने अपेक्षा राख्न सकिन्छ । यसबाहेक राष्ट्रपति सी स्वयंले कान्तिपुरमा प्रकाशित आफ्नो आलेखमार्फत हिमाल, पहाड, नदी–नालाले चीन र नेपालको सामीप्यता बढाएको, इतिहास, भूगोल, धर्म र संस्कृतिले दुई देशबीचको सम्बन्धको जग अझ बलियो बनाएको उल्लेख गरेपछि गद्गद् नहुने कोही नेपाली देखिँदैनन् । उत्तरी छिमेकीको विश्वचर्चित नेताले नेपाललाई यसरी महत्त्व दिएको बेला यदि यहाँका जिम्मेवार नेता, योजनाकारहरू विकासमा हातेमालो गर्न चुकेमा, जुर्मुराउन नसकेमा या समयको सदुपयोग गर्न नजानेमा हाम्रो अधोगति रोकिने छैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

केही दिन अगाडि मात्र काठमाडौंमा चीनका अन्तर्राष्ट्रिय विभाग प्रमुखले नेकपाका विभिन्न तहका नेतृत्वहरूलाई सी विचारबारे प्रशिक्षण दिएका थिए । त्यसलगत्तै नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको आगमन भएको छ । उनी भारतको भ्रमण सकाएर काठमाडौं आउनुलाई पनि धेरैले अर्थपूर्ण मानेका छन् । छिमेकी मुलुक चीनको २३ वर्षपछिको आगमनबाट नेपालले ठूलो अपेक्षा राखेका छन् । मुलुकमा जति बाक्लो उपस्थिति दक्षिणी छिमेकी भारतको छ, उति उत्तर छिमेकी चीनको छैन । दुई छिमेकीसँगको सम्बन्ध जुन सन्तुलनमा हुनुपर्थ्यो त्यो हुन सकेको छैन । नेपालभन्दा पछिका मुलुकहरू निकै अगाडि बढिसकेका छन् । नेपालमात्र यस्तो देश हो, जुन अरू मुलुकको पछिपछि कुदिरहेको छ । त्यसैले सीको भ्रमणलाई नेपालले अवसरका रूपमा प्रयोग गर्न सक्नुपर्छ । छिमेकी राष्ट्रसँगको राम्रो र सन्तुलन सम्बन्धले मात्र मुलुकको सपना पूरा गर्न सकिन्छ ।
– राजेश विद्रोही, लहान, सिरहा

अहिले सर्वत्र चासोको विषय बनिरहेको हट विषयवस्तु चिनियाँ राष्ट्रपतिको २३ वर्षको अन्तरालमा भएको भ्रमण नै हो । वास्तवमा संसारकै शक्तिशाली राष्ट्रको रूपमा उदाउँदै गरेको चीनका राष्ट्रपति सी चिनफिङ चीनमा उत्तिकै शक्तिशाली छन् । उनको भ्रमणले नेपालीलाई निकै उत्साही बनाएको छ । यो भ्रमण एक अविस्मरणीय र अवसरको मौकासमेत हो । अब यसलाई भ्रमणमा मात्र सीमित नराखी नेपालले अधिकतम फाइदा लिन सक्नुपर्छ । चीनको सुरक्षामा नेपालको सहयोगमा आश्वस्त तुल्याई चीनबाट अधिकतम फाइदा लिन नेपाल चुक्नु हुँदैन ।
– नरनाथ पाण्डे, कावासोती—८, नवलपुर

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुनु अत्यन्तै सान्दर्भिक साथै महत्त्वपूर्ण छ । यसरी छिमेकी राष्ट्रप्रमुखको भ्रमणले सरकारलाई ऊर्जा प्राप्त हुनु पर्छ । लामो समयको अन्तरालमा भएको यो भ्रमण आफैंमा महत्त्वपूर्ण छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा काठमाडौंमा रोपिएका बिरुवा कहाँ छन्, सरकारले बिर्सिसकेको छ । तीनकुनेको खाली जमिनमा मात्रै लाखौं खर्च गरिएको थियो ।आज फेरि गरिएको छ । सरकार किन स्थायी विकासतर्फ अग्रसर भइरहेको छैन । तीनकुनेको खाली जमिनमा अहिलेसम्म उच्चस्तरको भ्रमणलाई देखाउन मात्र ठूलो खर्च भइसकेको छ । यसरी स्वागत गर्दा पनि हामीले भुल्नु हुँदैन– विदेशी राष्ट्रप्रमुखहरू मोदी हुन् वा सी, उनीहरू
आफ्नो देश बनाउन हिँडेका हुन्, छिमेकी बनाउन होइन । त्यसैले आफ्नो देश आफैं बनाउने हो, अरूले होइन । यद्यपि यस्ता भ्रमणहरूले आपसी समझदारीमा भने पक्कै नयाँ आयाम थप्ने छन् ।
– रामकृष्ण बराल, जोरपाटी–२

झन्डै अढाई दशकपछि चीनका राष्ट्रपति सगरमाथा पार गर्दै नेपालको भ्रमणमा आइरहँदा नेपालस्थित सत्तारूढ दलका नेता कार्यकर्ताको खुट्टा भुइँमा छैन । चीनका राष्ट्रपतिको नेपाल भ्रमणमात्रै पनि ठूलो उपलब्धि हो भन्ने विश्वास सत्तारूढ दलका नेताहरूमा छ । विश्व जगत्मा चीनले हासिल गरेको आर्थिक उपलब्धिबाट नेपालले फाइदा लिन ढिला भइरहेको बखत चीनबाट कसरी फाइदा लिने भन्ने सन्दर्भमा नेपालले कहिल्यै पनि चातुर्यता प्रस्तुत गर्नै सकेन । यातायात लगायत विकास निर्माणका क्षेत्रमा चीनले नेपाललाई ललीपपका रूपमा केही छाडेर जाने कुरामा कुनै सन्देह छैन । नेपालमा चिनियाँ लगानी भित्र्याउने र नेपाललाई चीन र भारतलगायत यस क्षेत्रका राष्ट्रहरूको ट्रान्जिटका रूपमा बिस्तार गर्नेतर्फ पनि अब नेपालले छिमेकी मुलुक चीन र भारतसमक्ष आफूलाई प्रस्तुत गर्नुपर्ने बेला आएको छ । समृद्धि र विकासको चर्चा गरिरहँदा वायु प्रदूषण र हिमालय क्षेत्रको संवेदनशीलता तथा विश्वव्यापी उष्णतामा चीनले निर्वाह गरिरहेको भूमिकाका बारेमा नेपालले आवाज उठाउनु पर्दैन र ? हिमाल पग्लँदै छन्, पानीका मुहान सुक्दैछन्, यसका लागि प्रमुख जिम्मेवारका रूपमा चीन र भारतको उपस्थितिप्रति नेपालले खबरदारी गर्ने कि नगर्ने ? भौतिक विकासभन्दा पनि हाम्रा सन्ततिको बाँच्न पाउने अधिकार हाम्रा लागि प्राथमिकताको विषय बन्नुपर्छ । सेता टलक्क टल्कने हाम्रा हिमालहरू काला पत्थरमा अनुवाद हुँदै गर्दा चीनले कार्बन उत्सर्जनमा कमी ल्याउने प्रतिबद्धता व्यक्त गर्नुपर्छ ।
– उत्तम पुडासैनी, जोरपाटी, काठमाडौं 

दृष्टिकोण

सी भ्रमणको भावनात्मक लहर

- कृष्ण खनाल

 

चीनका राष्ट्रपति सी चिनफिङ यतिखेर नेपाल भ्रमणमा छन् । बहुप्रतीक्षित र बहुप्रचारित यो भ्रमणको भावनात्मक लहरले नेपाल पूरै रंगिएको छ । अन्तर्राष्ट्रिय राजनीतिशास्त्रले भन्छ, कूटनीति र परराष्ट्र सम्बन्ध भावनामा चल्दैन । शक्ति, स्रोत, आपसी हित र उपयोगिता यसका आधारभूत तत्त्व हुन् । भ्रमणलाई फलदायी बनाउन भरपर्दा र विश्वासिला योजना तथा कार्यक्रम पनि उत्तिकै महत्त्वका हुन्छन् । उनको करिब २० घण्टाको नेपाल बसाइमा शिष्टाचार भेटघाटका समय कटाउँदा करिब २ घण्टामात्र द्विपक्षीय ‘बिजिनेस’मा व्यस्त हुने देखिन्छ, जसमा बहुचर्चित केरुङ–काठमाडौं रेलमार्ग, उत्तर सीमा जोड्ने अरू सडक सञ्जालसहित सहयोगका विविध पक्षमा सम्झौता हुनेछन् । यसलाई दुवै पक्षले ‘ट्रान्स–हिमालयन कनेक्टिभिटी’ भनेर नयाँ पदावलीमा सजाइएका छन् । भ्रमणका कार्यसूचीलाई हेर्दा अपेक्षित रूपमा कार्यान्वयन हुन सके आउने दिनहरूमा दुवै देशका प्रमुख नाका सडकले जोडिनेछन्, रेल दौडनेछन् । चिनियाँ बन्दरगाहसम्मको पहुँच र प्रयोग सहज हुनेछ । विकास पूर्वाधारमा काँचुली फेरिनेछ । चीन सरकारले भनेजस्तो यो भ्रमण ‘ऐतिहासिक’ सावित हुनेछ । राष्ट्रपति सी स्वयंले अपेक्षा गरेजस्तो नेपाल–चीन मैत्री ‘नयाँ उचाइ’ मा पुग्नेछ ।
यो भ्रमणले नेपाल–चीन सम्बन्धमा एउटा महत्त्वपूर्ण भूराजनीतिक आयामको औपचारिक आरम्भ गर्दैछ । चिनियाँ कूटनीतिको विशेषता आफ्नो हितको पहिचानसहित ‘बिजिनेसलाइक डिल’ हो । केवल क्षणिक खपतका लागि भन्दा लामो समयसम्म अपनाउने नीति र कार्यक्रमले त्यसलाई साथ दिएको हुन्छ । त्यसमाथि राष्ट्रपति सी निकै महत्त्वाकांक्षी र परिणाममुखी नेता मानिन्छन् । उनी माओ त्सेतुङपछि सर्वाधिक शक्तिशाली अर्थात् ‘पारामाउन्ट’ नेता मानिन्छन् । उनको विचार संविधानको मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित भएको छ । पार्टी, सेना र सरकार तीनवटैमा उनको सर्वोच्च कमान्ड छ । उनले चिनियाँ जनतामा ‘सुपर पावर’ सपना भरेका छन् र साथै यसका लागि आवश्यक योजना र रणनीतिलाई जोडतोडले अघि बढाएका छन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) त्यसको सबभन्दा प्रभावकारी अस्त्र हो । देङ सियाओपिङको सुधार योजना र नीतिबाट अघि बढेको चीनको आधुनिकीकरण जियान जेमिन, हु जिन्ताओ हुँदै राष्ट्रपति सी चिनफिङसम्म आइपुग्दा उच्चतम उपलब्धिको चरणमा पुगेको छ । धेरै सोचविचार र पूर्वतयारी साथ उनी यो भ्रमणमा आएका छन् । नेपाली नेताका जस्तो रहर र औपचारिकताका लागि यो भ्रमणलाई लिन मिल्दैन । हामी सम्बन्धको नयाँ आयामको मोडमा उभिएका छौं । यसले आन्तरिक र बाह्य दुवै तहमा उल्लेख्य प्रभाव पार्नेछ ।
प्रचार गरिएअनुसार ‘ट्रान्स–हिमालयन कनेक्टिभिटी’ स्थापित हुने गरी सम्झौता भएर परियोजनाहरूले पूर्णता पाउन सके भूगोलको अवरोध छिचोलेर नयाँ सम्पर्क संरचनाको निर्माण र विस्तार हुनेछ । रेल र सडक सञ्जालको विस्तार तथा बन्दरगाहसम्मको पहुँचले चीनसँग सबै प्रकारका दूरी समाप्त हुनेछ । तातोपानी, केरुङ, हिल्सालगायतका सीमा नाकामा चीनले अन्तर्राष्ट्रियस्तरको भन्सार, अध्यागमनलगायतका संरचना निर्माण गरिसकेको छ । छिट्टै कोरला र पूर्वको किमाथांकामा पनि यस्तै स्तरको संरचना बन्ने तयारीमा छ । नेपालका तर्फबाट पनि अपेक्षित तयारी र काम हुन सके आउने पाँच–सात वर्षमा उत्तरतिरको सडक सम्पर्क अनुमान गरेभन्दा बढी हुनसक्छ । स्वाभाविक रूपमा यसको प्रभाव आर्थिक विकासमा मात्र होइन, राजनीति र कूटनीतिमा पनि पर्नेछ ।
अन्तर्राष्ट्रिय राजनीतिक रंगमञ्चमा चीन अहिले संयुक्त राज्य अमेरिकापछि दोस्रो महाशक्ति राष्ट्र हो । आर्थिक विकास, सैन्य शक्ति, अर्थतन्त्रको आकारले चीनको त्यो हैसियत स्वाभाविक पनि हो । तर पूर्व सोभियत संघजस्तो कम्युनिस्ट विचारका आधारमा नभई द्विपक्षीय तथा बहुपक्षीय हित र साझेदारीका आधारमा आफ्नो प्रभाव जमाइरहेको छ । यसले राजनीतिक विचारधाराका कारण अन्तर्राष्ट्रिय तहमा हुने द्वन्द्वको उपस्थितिलाई एक प्रकारले रोकेको पनि छ । सोभियत संघको विघटनपछि विश्व राजनीतिमा अमेरिकाको एकछत्र ढलिमलीसँग प्रतिस्पर्धा गर्ने शक्ति चीनले आर्जन गर्दै गरेको विश्वास गरिन्छ । त्यसैले २१ औं शताब्दीको अग्रणी शक्ति चीन हो भन्न थालिएको छ । धेरै सम्भावना छन्, जसलाई उसले यथार्थमा रूपान्तरण गर्ने हैसियत राख्छ तर जोखिम पनि कम छैनन् । चिनियाँ नेतृत्व यसप्रति उत्तिकै सचेत पनि देखिन्छ ।
देङ सियाओपिङको सुधार योजना र नीतिबाट अघि बढेको चीनको आधुनिकीकरण जियान जेमिन, हु जिन्ताओ हुँदै राष्ट्रपति सी चिनफिङसम्म आइपुग्दा उच्चतम उपलब्धिको चरणमा पुगेको छ । आन्तरिक रूपमा राष्ट्रपति सी माओ त्सेतुङपछि सर्वाधिक शक्तिशाली अर्थात् ‘पारामाउन्ट’ नेता मानिन्छन् । उनको विचार संविधानको मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित भएको छ । पार्टी, सेना र सरकार तीनवटैमा उनको सर्वोच्च कमान्ड छ । गत सन् १९१८ मा सम्पन्न १३औं राष्ट्रिय जनकंग्रेसले उनलाई दोस्रो कार्यकालका लागि निर्वाचन गर्दा दुई पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने संवैधानिक व्यवस्थालाई हटाइदिएको छ । अब उनी तेस्रो कार्यकालका लागि पनि चुनिन बाटो खुला भएको छ ।
सोभियत संघको विघटनपछि विश्व राजनीतिमा निकै ठूलो परिवर्तन आएको छ । त्यसपछिका तीन दशकमा चीनले हासिल गरेको आर्थिक विकास तथा सामरिक हैसियतका कारण यसले नयाँ विश्व शक्तिको स्थान बनाएको कुरामा असहमति राख्ने ठाउँ छैन । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सुरक्षा अवधारण पनि अहिले परिवर्तन भएको छ । केवल सैन्य एवं सामरिक शक्तिका आधारमा हेर्ने परिपाटी अन्त्य भएको छ । आर्थिक, राजनीतिकलगायत सर्वांगिक सुरक्षा अवधारणाले स्वीकार्यता पाएको छ । व्यापार र आर्थिक साझेदारी अहिले अन्तर्राष्ट्रिय राजनीतिको स्वीकार्य तत्त्व भएका छन् । महाशक्ति राष्ट्र अर्थात् ‘सुपरपावर’ का रूपमा स्थापित र स्वीकार्य हुन चीनका लागि चुनौती पनि कम छैनन् । आन्तरिक र बाह्य दुवै चुनौती छन् । यसको अपेक्षित व्यवस्थापन गर्न नसके तिनै कुरा जोखिम बन्न बेर लाग्ने छैन ।
संविधानतः चीनले आफ्नो शासन पद्धतिलाई जनवाद अर्थात् लोकतन्त्र नै भन्छ, । उसले अपनाएको अर्थव्यवस्थालाई समाजवादी बजार अर्थतन्त्र भन्छ । तर कम्युनिस्ट पार्टीको एकदलीयता चिनियाँ राजनीतिको प्रमुख संरचना, सिद्धान्त र मान्यता हो । कम्युनिस्ट पार्टीकै नेतृत्वमा चीनले राजनीतिक स्थिरता र अहिलेको उन्नति हासिल गरेको छ । सायद सांस्कृतिक क्रान्तिका बेला सत्ता संघर्षको चरम विवाद र एकपक्षीय बोलवालाको तीतो अनुभवका कारण हुनसक्छ, एकल व्यक्तित्ववादी मतका कारण आन्तरिक द्वन्द्व नबढोस् र मुलुकको राजनीति प्रतिकूल प्रभावित नहोस् भनेर माओ विचारधाराका अतिरिक्त देङ सियाओपिङका सिद्धान्त, जियाङ जेमिन, हु जिन्ताओका विचारलाई पनि उनीहरूको नाम उल्लेख नगरी संविधानको प्रस्तावनामा राखिएका छन् । तर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणका लागि दुई कार्यकालभन्दा बढी एकै व्यक्ति राष्ट्रपति अर्थात् कार्यकारी नेतृत्वमा नरहने संवैधानिक व्यवस्था भने अहिले हटाइएको छ । यसले तेस्रो कार्यकालका लागि पनि सी नै राष्ट्रपति बन्ने हुन् कि भन्ने अनुमान गर्न थालिएको छ ।
चीन स्वतन्त्र विश्व व्यापारबाट सर्वाधिक लाभ लिने मुलुकमा पर्छ । विश्वका प्रायः सबै मुलुकसँग उसको व्यापार नाफामा छ, आयातभन्दा निर्यातको मात्रा बढी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसैमा प्रहार गरेर उसलाई कज्याउन खोजेका छन् । यसले चीनका लागि बीआरआईको औचित्य र उपयोगिता अरू पुष्टि गरेको छ । तर विचारणीय के हो भने व्यापारसँग विचार पनि सँगै यात्रा गर्दछ । यसलाई लामो समयसम्म अलग्याउन सकिन्न । आखिर विगत तीन–चार शताब्दीदेखि विचारकै प्रभाव त राजनीति र अर्थतन्त्रमा सर्वाधिक बलशाली भएको छ । विश्वभर खुला समाज, मानवअधिकार, दलीय प्रतिस्पर्धा, स्वतन्त्र सञ्चारलगायत लोकतन्त्रका आधारभूत मूल्य एवं सिद्धान्तको महत्त्व बढ्दो छ । कुनै पनि बेला लोकतन्त्रप्रतिको चिनियाँ जनचाहनाको लहर उर्लिन सक्छ । राजनीतिक सुधारका पक्षमा हङकङमा बढ्दो प्रदर्शन एउटा उदाहरण हो । यो राजनीतिक जोखिम र चीनको महाशक्तीय आकांक्षाबीच सन्तुलन राख्न पनि उत्तिकै जरुरी छ ।
राष्ट्रपति सीको भ्रमणका दुइटा पक्षमाथि अलि गम्भीर भएर हेर्नु आवश्यक छ । पहिलो, माथि भनेजस्तै यो भ्रमणलाई नेपालमा भावनात्मक पक्ष अत्यधिक हावी भएको छ । विशिष्ट अतिथिको सम्मानपूर्ण स्वागत, भ्रमणलाई फलदायी बनाउनु सरकारको जिम्मेवारी हो । सफलताका लागि उसले श्रेय पनि पाउँछ । यसलाई केवल सरकार र सत्तारूढ दलको उपलब्धिका रूपमा मात्र सीमित गरिनु हुन्न । तर सत्तारूढ नेकपा यसलाई आफ्नो आन्तरिक एवं बाह्य नीतिमा सर्वाधिक महत्त्वको उपलब्धिपूर्ण पुँजीका रूपमा स्थापित गर्न लालायित देखिन्छ । सरकारले यसैका आधारमा समृद्धि यात्रा कायापलट हुने सपना बाँडेको छ । भारतसँगको निर्भरता समाप्ति र नेपालले भूराजनीतिक सकसबाट मुक्ति पाउने राष्ट्रियताको प्रचारबाजी पनि हात पार्ने दाउमा देखिन्छ । तर हाम्रो हालत पनि देखिएको छ, ठूला शक्ति राष्ट्रका उच्चस्तरीय भ्रमण गराउन नेपाल सक्षम छैन भन्ने प्रमाण अरू उजागर भएको छ ।
दोस्रो, यो भ्रमणका सन्दर्भमा हामी भूराजनीतिक छलाङ मार्दैछौं भन्ने जनमानसमा सबैभन्दा बढी प्रचारित कुरा भएको छ । छिट्टै भारत–आश्रित अवस्था विस्थापित हुने सपना बाँडिएको छ । नेपालको राजनीतिलगायत विविध पक्षमा भारतीय प्रभुत्व अब समाप्तिको बाटोमा पुग्यो भन्ने लागेको छ । राजनीतिक रूपमा भन्ने हो भने यो हाम्रो भौतिक एवं मानसिक तहमै उथलपुथलकारी परिवर्तनको कडी सावित हुनेछ भन्ने लागेको छ । यस्तो अति सोचाइको म कुनै तुक देख्दिनँ । विचार गर्नुपर्ने के छ भने सरकारमा नेकपा अर्थात् कम्युनिस्ट पार्टीको नेतृत्व भए पनि नेपाल खुला समाजको सिद्धान्त अपनाएको मुलुक हो । चीन र नेपालबीच केही मौलिक राजनीतिक भिन्नता पनि छन् । यहाँ विचारको पृथकता, संस्कृतिको विविधता, राजनीतिक असहमतिको मान्यता छ । त्यसले हाम्रो राजनीतिलाई परिचालन गर्दछ, सञ्चारलाई तरंगित गर्दछ । यसलाई आत्मसात् गरी नेतृत्वमा बस्नेले कूटनीतिक कौशल र क्षमता कायम गर्नपर्ने चुनौती अरू थपिएको छ । जोखिम पनि छ, कतै हाम्रो राजनीति अब दुईतिरको चलखेलमा थप परिवेष्टित हुने त होइन ? आउने चुनावहरूमा माल्दिभ्समा जस्तै चिनियाँ वा भारतीय कुन पक्षले जित्दैछ भनेर अनुमान गर्नुपर्ने त होइन ?

Page 7
दृष्टिकोण

‘खुला दिसामुक्त’ को भाष्य र अर्थराजनीति

नेपाललगायतका अल्पविकसित देशमा दूषित पानीका कारण लाग्ने रोगहरू अहिले पनि एक महत्त्वपूर्ण जनस्वास्थ्य चुनौती हो । विश्व स्वास्थ्य संगठनका अनुसार दूषित पानीका कारण लाग्ने झाडापखालाले मात्र बर्सेनि पाँच लाख मान्छेले ज्यान गुमाउँछन् । यसबाट हुने प्रत्यक्ष र अप्रत्यक्ष शारीरिक र आर्थिक नोक्सानीको मात्रा धेरै ठूलो छ । नेपालमा केही दशकयता सुरक्षित खानेपानी र सरसफाइका क्षेत्रमा निकै सुधार भएको छ । भर्खरै नेपाल सरकारले निकै उत्साहका साथ नेपाललाई ‘खुला दिसामुक्त’ देश घोषणा गरेको छ । यस सम्बन्धमा मुख्यतया पूर्वाधार पूरा नगरी घोषणा गरियो भन्ने आलोचना भएको छ । कुरा पूर्वाधारको मात्र होइन, यो अभियानको महत्त्वपूर्ण अर्थ राजनीतिक पाटो छ । अवधारणाका रूपमा ‘खुला दिसामुक्त’ एउटा सामान्य नारा मात्रै होइन यो एक भाष्य पनि हो र यसभित्र खास अर्थराजनीतिक यथार्थहरू अन्तरनिहित छन् । यस सन्दर्भमा यो आलेखमा ‘खुला दिसामुक्त’ नारा र अभियानका भाष्य र अर्थ–राजनीतिक आयामहरू खोतल्ने प्रयास गरिएको छ ।
‘खुला दिसामुक्त’ अंग्रेजी भाषाको ‘ओपन डेफेकेइसन फ्री’ को रूपान्तरण (ट्रान्सलेसन) को रूपमा आयातित अवधारणा हो । हाम्रो मौलिक बुझाइअन्तर्गत ‘खुला दिसा’ को अवधारणा निर्माण भएको होइन या भनौं हाम्रो संस्कृतिले यसलाई चिन्दैन । हाम्रो संस्कृतिमा शौच र शौचालयलाई बुझ्ने विशेष दृष्टिकोण छ । यसको सार्वजनिक चर्चा गर्नु पनि उपयुक्त मानिन्न किनकि यो फोहोर र अपवित्र कुरा हो । सामाजिक स्तरीकरणको पुछारमा रहेकाहरूका लागि आज पनि शौचालय आवश्यकताभन्दा विलासिता र प्रतिष्ठाको विषय हो । बीसौं शताब्दीका प्रसिद्ध फ्रान्सेली दार्शनिक मिसेल फुकोका अनुसार भाष्य र शक्तिबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । ‘खुला दिसामुक्त’ भन्ने भाष्य र रूपान्तरणको प्रक्रियामा नेपालको विश्व व्यवस्था अन्तर्गतको अल्पविकसित हैसियत पनि देख्न सकिन्छ । यस्ता विकासे शब्दावली स्थानीय यथार्थसँग मेल खाँदैन तर यसलाई जबरजस्त रूपमा हाम्रो जस्तो समाजमा राज्य र संस्थाहरूमार्फत लादिएको हुन्छ । यसले बलिया भनेर चिनिने राष्ट्रहरू र हाम्रो संस्कृतिहरू बीचको असमान अर्थराजनीतिक सम्बन्धलाई समेत स्पष्ट पार्दछ । यस्ता भाष्य र रूपान्तरणभित्र तिमीहरू पछौटे हौ र तिमीहरूले सभ्य अर्थात् ‘खुला दिसामुक्त’ बन्नु गर्व गर्न लायक उपलब्धि हो भन्ने उपदेश अन्तर्निहित छ । यसले हाम्रो हीन ग्रन्थीको पृष्ठ पोषण र पछुवा मनोविज्ञान निर्माण गर्न सफल भएको छ ।
राजमार्ग तथा सहर र गाउँहरूको सिमानामा पुग्दा त्यस ठाउँको सांस्कृतिक तथा भौगोलिक विशेषता बुझाउने सन्देशहरू नभएर दिसामुक्त गाउँ वा सहरमा स्वागत छ भन्ने आशयका होर्डिङ बोर्डहरू बग्रेल्ती भेटिन्छन् । केही समयदेखि खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने होडबाजी नै चलेको थियो र अहिले आएर हामी सम्पूर्ण देशवासी नै ‘खुला दिशामुक्त’ मार्काका मान्छे भएका छौं । हामी जोडतोडका साथ यो परिचयलाई आत्मसात् गर्न तम्सेका छौं कि मानौं यो अत्यन्त गौरव गर्ने विषय हो वा यसअघि हामीमा घोर लघुताभास थियो । सगरमाथा र बुद्धको देशको परिचयपछि हामी ‘खुला दिसामुक्त’ देश पनि भएका छौं । खुला दिसामुक्तको भाष्यसँगै यस अभियानसँग जोडिएको अर्को पाटो भनेको वैदेशिक सहयोग हो । नेपाली समाजमा दानलाई विशेष अर्थमा हेरिन्छ । दान आफैंमा ग्राह्य वस्तु होइन, यसभित्र बलियो र कमजोर बीचको सम्बन्ध अन्तरनिहित हुन्छ । यसको ‘डोनेसन’ ‘आर्थिक सहयोग’ वा ‘वैदेशिक सहायता,’ ‘सफ्टलोन’ आदि लेपन लगाएर त्यसलाई ग्राह्य बनाउन सकिन्छ । विकासका नाममा आउने आर्थिक सहयोगसँगै सांस्कृतिक र वैचारिक कुराहरू पनि आयात भएका हुन्छन् । ‘खुला दिसामुक्त’ नारा र अभियान यसैको अर्को कडी हो ।
यस अभियानलाई सफल बनाउने नाममा राज्य र विशेषगरी स्थानीय सरकारहरूले जोर जबरजस्तीको नीतिसमेत लिएको देखिन्छ । बालबालिकाको जन्म दर्ताजस्तो आधारभूत अधिकार प्राप्त गर्ने कुरालाई शौचालयको अड्को थापेको देखिन्छ । घरमा शौचालय नभएमा जन्म दर्ता नहुने, सामाजिक सुरक्षाभत्ता नपाउने जस्तो नीति लाद्ने कुरो अत्यन्त लज्जाजनक छ । यो लोकतान्त्रिक भन्ने देशलाई सुहाउने कुरा होइन । अझ मानव अधिकार र लोकतन्त्रको दुहाइ दिने ‘दाता’हरूले समेत यो कुरामा आँखा चिम्लनु उदेकलाग्दो छ । फुकोले ‘मेडिसिन’ जसमा स्वास्थ्य नीति र कार्यक्रम पनि पर्दछ, यसलाई राज्यले नागरिकलाई नियन्त्रण र ‘सर्भिलेन्स’ गर्ने संयन्त्रका रूपमा प्रयोग गर्दै आएको छ भनेका थिए । भलै सतहमा त्यसमा नागरिक हितको उद्देश्य हुन्छ । यो दृष्टिकोणबाट राज्यले कसरी यस्ता स्वास्थ्य नीतिको प्रयोग गरी नागरिकलाई कज्याउन खोज्छ भन्ने बुझ्न सकिन्छ ।
सबैका घरमा र सार्वजनिक स्थानमा शौचालय हुनुपर्छ भन्नेमा दुईमत हुन सक्दैन । तर बनाउनु मात्रै समस्याको समाधान होइन भन्ने कुरा नेपाललगायत छिमेकी मुलुक भारतको अनुभवबाट स्पष्ट हुन्छ । भारतमा ‘स्वच्छ भारत’ अभियानअन्तर्गत बनाइएका धेरै चर्पी प्रयोगविहीन अवस्थामा रहेको अध्ययनले देखाएका छन् । अफ्रिकी मुलुकहरूको अनुभव पनि त्यस्तै छ । स्वस्फुर्त सहभागिता, सांस्कृतिक र प्राविधिक अनुकूलता नहेरी गरिएका यस्ता प्रयासहरू पटक पटक असफल भएका प्रशस्त उदाहरण छन् । नेपालमै सार्वजनिक शौचालयको अवस्था दयनीय छ । काठमाडौंका सार्वजनिक शौचालयहरू सर्वसाधारणले प्रयोग गर्नै नसक्ने अवस्थामा पाइएका छन् । अन्य धेरै सहरमा त सार्वजनिक शौचालय भेट्नै गाह्रो छ । पोखराजस्तो पर्यटकीय महानगरमा समेत यसको राम्रो व्यवस्था छैन ।
मानवका आचरणहरूको विकास सामाजिकीकरणको लामो प्रक्रियामार्फत हुने गर्दछ । शौचसम्बन्धी सिकाइहरू झन् प्रारम्भिक सिकाइमा पर्दछन् । बच्चा दोस्रो वर्ष प्रवेश गरेसँगै ‘एनल’ चरण सुरु हुन्छ, जहाँबाट उसले शौचसम्बन्धी कुरा सिक्न सुरु गर्छ र यो सिकाइ निरन्तर चल्दछ । शौचलगायतका बानी व्यवहारहरूसँग विभिन्न संरचनागत र सांस्कृतिक मूल्य र विश्वास जोडिएका हुन्छन् । पछि प्रदान गरिने ज्ञान, चेतना र हस्तक्षेपले यसलाई प्रभाव पारे पनि यस्ता व्यवहारलाई व्यावहारिक र दिगो रूपमा परिवर्तन गर्न समाजको संरचनागत र सांस्कृतिक आयामहरूलाई सम्बोधन गर्न पनि आवश्यक हुन्छ । एकांकी रूपमा र थोपरिएका विकासे कार्यक्रमले यो विषयलाई भुलेको देखिन्छ ।

जनार्दन थापा
लेखक पृथ्वीनारायण क्याम्पस, पोखरामा (चिकित्सकीय) मानवशास्त्र अध्यापन गर्छन् ।

 

दृष्टिकोण

विश्व अर्थतन्त्रको बदलिँदो परिदृश्य

 

सन् २०१८ को पूर्वार्द्धदेखि नै विश्व अर्थतन्त्रमा केही नयाँ तरंगहरू देखापर्न थालेका छन् । हाल यसलाई दूरगामी प्रभाव पार्न सक्ने तीनवटा प्रमुख घटनाहरू देखापरेका छन् । ती हुन् ः अमेरिका–चीन व्यापार युद्ध, युरोपेली समुदायबाट बेलायतको बहिर्गमन र मध्यपूर्वका राष्ट्रहरूमा चीनको बढ्दो लगानी । यी तीनवटै घटनाक्रम अत्यन्त दूरगामी प्रकृतिका छन् र यिनीहरूको गहिराइले विश्व अर्थतन्त्रको गतिशीलतालाई पनि निर्देशित गर्छन् ।
अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि उनले तीनवटा प्रमुख आर्थिक नीतिहरू लिए ः कर्पोरेट आय करमा कटौती गर्ने, अर्थतन्त्रको विस्तारका लागि सार्वजनिक खर्च वृद्धि गर्ने र चीनसँगको प्रतिकूल व्यापारलाई अनुकूल बनाउन व्यापार युद्धमा होमिने । यस क्रममा उनले गत वर्ष जनवरीदेखि नै चीनसँगको व्यापारमा एकपछि अर्को गर्दै त्यहाँबाट गरिने दुई खर्ब डलरको आयातमा भारी कर वृद्धि गराए । त्यसको बदलामा चीनले पनि अमेरिकी सामानमाथि करोडौं डलरको कर थोपरेको छ । यसले गर्दा दुई मुलुकबीचको व्यापार स्वाट्टै घटेको छ । यी दुई मुलुकहरू विश्वको पहिलो र दोस्रो ठूलो अर्थतन्त्र भएकाले तिनीहरूसँग विश्वका धेरै मुलुकहरू व्यापारिक रूपले जोडिएका छन् र अन्तर्राष्ट्रिय व्यापारको परिमाण र दिशाले विश्व अर्थतन्त्रको वृद्धिदर पनि धेरै हदसम्म निर्देशित गर्छ ।
सन् २०१८ सम्म बलियो र संगठित देखिएको विश्व आर्थिक वृद्धिदर २०१९ देखि नै सुस्त, विशृंखलित र असमान बन्न गएको छ । अमेरिकी अर्थतन्त्र अघिल्लो वर्षसम्मको वित्तीय जोड कार्यक्रमको प्रभाव स्वरूप हालसम्म त आर्थिक वृद्धिदरको हिसाबले सबल नै देखिन्छ तर युरोजोन, बेलायत, जापान र चीनको भने वृद्धिदर घट्न थालिसकेको छ । यसले गर्दा सन् २०१८ मा ३.२ प्रतिशत रहेको विश्व आर्थिक वृद्धिदर २०१९ मा तीन प्रतिशतको वरिपरि रहनेछ र त्यसपछिका वर्षहरूमा तीन प्रतिशतभन्दा कम रहनेछ, जसको प्रमुख कारण विश्व व्यापारमा आएको गिरावट नै हो । किनभने सन् २०१८ मा करिब पाँच प्रतिशतले बढेको विश्व व्यापार २०१९ मा शून्य प्रतिशतको हाराहारीमा झर्ने संकेत देखापरेको छ ।
विश्व व्यापारमा देखापरेको संकुचनसँगै ब्याजदरमा आएको वृद्धिले वस्तु, सेवा र सेयर बजारमा धेरै उतारचढाव देखापर्न थालेका छन् । यो प्रवृत्ति कायम रहेको खण्डमा आउँदा वर्षहरूमा वित्तीय क्षेत्र बढी कसिलो भएर जानेछ । विश्व आर्थिक रूपले बहुध्रॅवीय बनिसकेको कारणले विभिन्न मुलुकहरूले फरकफरक उद्देश्य र प्राथमिकताका साथ वित्तीय र मौद्रिक नीति तर्जॅमा गरेका छन् ।
राष्ट्रपति ट्रम्प सत्तामा आएपछि कर कटौती र खर्च वृद्धिको नीति लिए । त्यसको आर्थिक वृद्धिदरमा सबभन्दा उच्च प्रभाव सन् २०१८ मा देखापर्‍यो । त्यस वर्ष अमेरिकी अर्थतन्त्र २.९ प्रतिशतले बढ्यो । तर त्यही वर्षबाट उनले चीनसँग व्यापार युद्ध सुरु गरे । यसले अमेरिकी अर्थतन्त्रमा संकुचनकारी प्रभावहरू ल्यायो । २०१९ मा आर्थिक वृद्धिदर २.६ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । २०२० मा यो २ प्रतिशतको हाराहारीमा आउनेछ । तर यति हुँदाहुँदै पनि अमेरिकी अर्थतन्त्र अरू विकसित मुलुक र क्षेत्रको तुलनामा मजबुत नै रहनेछ । युरोजोनको आर्थिक वृद्धि सन् २०१७ मा २ प्रतिशतमाथि रहेकोमा यो निरन्तर खस्कँदो छ । सन् २०१९ मा यो १.५ प्रतिशतको हाराहारी रहने प्रक्षेपण गरिएको छ । युरोपेली समुदायबाट बेलायतको बहिर्गमनमा देखिएका समस्याहरूले ल्याएको अराजकता, फ्रान्समा इमानुएल माक्रोनको सरकारप्रति पोखिएको असन्तुष्टि, जर्मनीमा धर्मराइरहेको एंगेला मर्केलको सरकारजस्ता कारणहरूले युरोजोन र सम्पूर्ण युरोपेली युनियनका मुलुकहरूको आर्थिक वृद्धिदर ओह्रालो लागेको हो ।
अमेरिकी फेडरल रिजर्भ (केन्द्रीय बैंक) ले यस वर्ष करिब तीनपटक ब्याजदर उकास्ने भएको छ । यसले बचत दरलाई माथितिर उकास्ने प्रयास गर्नॅका साथै विदेशमा जाने अमेरिकी लगानीलाई स्वदेशमै उपयोग गर्न प्रोत्साहन गर्नेछ । बढ्दो घरेलु लगानी र भन्सार महसुलले बाह्य रूपमा आयातलाई महँगो बनाई घरेलु उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नेछ । अर्कोतिर यसले मुद्रास्फीतिलाई पनि तल्लो अंकमा राख्न सघाउ पुर्‍याउनेछ । यही नीतिको अनुसरण बैंक अफ इङ्ल्यान्ड, बैंक अफ क्यानाडा र केही उदीयमान आर्थिक शक्तिहरू ब्राजिल, भारत र रुसले पनि गर्ने तयारीमा छन् । तर युरोपेली केन्द्रीय बैंकले भने अझै एक वर्ष ब्याजदर बढाउने नीति लिनेछैन । यसको अर्थ के हो भने युरोपेली समुदायभित्र लगानी बढाउनु त्यति श्रेयस्कर छैन, बरु त्यहाँको पुँजी बजारबाट ऋण लिएर बाहिर लगानी गर्दा प्रतिफल उच्च रहने देखिएको छ । अर्कोतर्फ सम्भवतः बैंक अफ जापानले अझै केही वर्ष ऋणात्मक ब्याजदर नीतिलाई अवलम्बन गरिरहने छ, जसले जापानमा घट्दो मूल्यस्तरलाई धेरै हदसम्म सम्बोधन गर्नेछ । पिपुल्स बैंक अफ चाइनाले भने घट्दो आर्थिक वृद्धिदरलाई लक्षित गरेर कम ब्याजदर र सरकारी खर्चमा सामान्य वृद्धिको नीति लिएको छ ।
तर माथिका मौद्रिक नीतिहरूले आन्तरिक लगानी बढाई समग्र आर्थिक वृद्धिदरलाई माथितिर उकास्न नसकेको खण्डमा अमेरिका, क्यानाडा, बेलायत र रुसले खुकुलो मौद्रिक नीतिको अवलम्बन गर्नेछन्, जसले गर्दा फेरि यी राष्ट्रका लगानी उदीयमान र विकासशील मुलुकहरूतर्फ बग्नेछन् । तर ती लगानीले बढाउने उत्पादनहरूको गन्तव्य बजार भएका मुलुकहरूमा आर्थिक वृद्धिदर बढ्न नसकेको खण्डमा बिस्तारै लगानीमा संकुचन आउनेछ । यस अवस्थामा उदीयमान अर्थतन्त्रहरूले बढ्दो वैदेशिक लगानी थेग्न सक्ने हैसियत गुमाउनेछन् र चलायमान पुँजी विस्तारै स्थिर हुन पुग्नेछ । यो स्थिति आएको खण्डमा विश्व अर्थतन्त्रले मन्दीको बाटो समाउनेछ, जसबाट अमेरिका, बेलायत, युरोपेली संघ र जापान बढी प्रभावित हुनेछन् ।
अमेरिकासँगको व्यापार युद्धले गर्दा आर्थिक वृद्धिदर केही खस्कन पुगेको चीनको निर्यात व्यापार सन् २०२१ देखि फेरि सुधार हुने संकेत देखा परेको छ । यसका पछाडि चीनले सुरु गरेको व्यापारको दिशा परिवर्तन (ट्रेड डाइभर्सन) को नीति हुनेछ । अमेरिकासँग बढ्दो व्यापार विवाद र युरोपेली समुदायका राष्ट्रहरूसँग पनि व्यापार वृद्धि हुन कठिनाइ भएकाले उसले नयाँ व्यापारिक क्षेत्रहरूको विस्तार गरिरहेको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआईआर) यसै सोचअन्तर्गतको उत्पादन हो । यसले चीनलाई केन्द्र बनाई मध्य एसिया, पूर्वी युरोप हुँदै पश्चिम युरोपसम्म र अर्को मध्यपूर्व एसिया हुँदै अफ्रिकासम्मको सजिलो व्यापारिक मार्गको विकास गर्नेछ । एउटा बाटो प्राचीन रेशमी मार्गको विकसित रूप हुनेछ भने अर्को त्यसैअनुरूपको नयाँ मार्ग हुनेछ । बीआरआई परियोजनाले सामुद्रिक पहुँच भएका मुलुकहरूलाई सामुद्रिक मार्गबाट र भूपरिवेष्टित मुलुकहरूलाई स्थल मार्गबाट जोड्ने रणनीति लिएको छ । दक्षिण एसियाका भूपरिवेष्टित र पहाडी मुलुकहरू यही कार्यक्रमअन्तर्गत ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कमार्फत चीनको मुख्य भूमिसँग जोडिनेछन्, त्यसपछि तिनीहरूले बीआरआईको एउटा बाटो समाउनेछन् ।
बीआरआईले वस्तु र सेवाको व्यापारसँगै चीनमा हुने वैदेशिक लगानी र चीनबाट बाहिर हुने लगानी दुवैलाई बिस्तार गर्ने चीनको बुझाइ छ । यी प्रयासले चीनको घट्दो आर्थिक वृद्धिदरलाई उकास्ने छन् । विगत पाँच वर्षमा चीनका करोडौं जनता गरिबीको रेखामाथि आएको र मध्यमवर्गीय समाजको व्यापक बढोत्तरी भएकाले चीनभित्रै ठूलो उपभोक्ता बजारको विस्तार हुन पुगेको छ । यसरी आन्तरिक र बाह्य बजार सिर्जना र बिस्तारले चीनले आगामी दुई वर्षपछि आफ्नो घट्दो आर्थिक वृद्धिदरलाई माथितिर उकास्ने सम्भावना बढाएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
बीआरआईको विस्तारलाई सकारात्मक र नकारात्मक दुवै दृष्टिकोणबाट हेर्ने गरिएको छ । मध्यपूर्व र उत्तर अफ्रिकी राष्ट्रहरू (मेना क्षेत्र) का व्यापारिक नाकाहरूका विभिन्न परियोजनामा चीनको व्यापक लगानी छ । यस क्षेत्रको प्रमुख निर्यात गन्तव्य भनेको चीन हो । चीनको ठूलो लगानीले स्थानीय अर्थतन्त्रलाई ठोस सहयोग नपुगेको केही राजनीतिज्ञ र नीति निर्माताहरूको भनाइ छ । सन् २०१३ मा बीआरआईको योजना बन्दा मेना क्षेत्रमा एक खर्ब अमेरिकी डलरको लगानी गर्ने योजना बनाइएकोमा हालसम्म २१० अर्बको लगानी भइसकेको छ । यति हुँदाहुँदै पनि कतिपय मुलुकहरूमा बेरोजगारी र सरकारी ऋण दुवै बढिरहेका छन् । हाल साउदी अरेबिया, इजिप्ट र अल्जेरियामा बेरोजगारी १० र १३ प्रतिशतको बीचमा छ । त्यसैगरी सार्वजनिक ऋण अल्जेरियामा कुल गार्हस्थ उत्पादनको २८ प्रतिशत र इजिप्टमा ८२ प्रतिशत रहेको छ । बीआरआई जस्तो परियोजनामा सम्मिलित हुँदा संयुक्त लगानी विस्तार गर्नॅपर्नाले सार्वजनिक ऋणको बोझ निःसन्देह बढेर जानेछ । यसै सन्दर्भमा मलेसिया र पाकिस्तानले पनि आफ्नो सहभागितात्मक क्षमता पुनर्मँल्यांकन गर्दैछन् । पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादर बन्दरगाहलाई चीनले यही परियोजनाअन्तर्गत व्यापक विस्तार गर्न खोजेकोमा त्यसबाट केही राजनीतिक गन्ध आएको भारत र अमेरिकाको बुझाइ छ । त्यसैले अमेरिकाले चीन सम्मिलित ट्रान्स प्यासिफिक पार्टनरसिपबाट हात झिकेको छ । तर हालसम्मको सोचाइमा सहभागी धेरै मुलुकहरूले अल्पकालको ऋणलाई दीर्घकालको फाइदाले उछिन्ने निष्कर्षमा पुगेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको सोचाइबाट विकसित भएको यो एक्काइसौं शताब्दीको अत्यन्त महत्त्वाकांक्षी परियोजनाको सफलतामा विश्वको ६५ प्रतिशत जनसंख्या, एक तिहाइ गार्हस्थ उत्पादन र एक चौथाइ अन्तर्राष्ट्रिय व्यापार समेटिनेछ । यसले आर्थिक रूपले बहुध्रॅवीय विश्वमा चिनियाँ अर्थतन्त्रको भूमिका पनि निर्धारण गर्नेछ ।

डा. सञ्जय आचार्य

दृष्टिकोण

महरा प्रकरणमा महिला नेता किन मौन ?

- डा. माधवी भट्ट

प्रतिनिधिसभाका सभामुख छँदै कृष्णबहादुर महरामाथि लागेको ‘बलात्कार प्रयास’को आरोपले नेपालमा पद र राजनीतिक शक्तिको आडमा हुने यौनजन्य हिंसाको डरलाग्दो चित्र प्रस्तुत गरेको छ । आरोपित महरालाई नेकपा सचिवालयले सभामुख र सांसद पद दुवैबाट राजीनामा दिन लगाउने निर्णय गरेको थियो । महराले सभामुखबाट राजीनामा दिए पनि सांसद पद त्याग्न मानेनन् । पीडित महिला रोशनी शाहीले दिएको किटानी जाहेरी र सञ्चार माध्यमहरूको चर्को दबाबका कारण प्रहरीले असोज १८ गते महरालाई पक्राउ गरी हिरासतमा राखेको छ । यो फौजदारी अभियोगसँगै अब भने उनको सांसद पद निलम्बनमा परेको छ । तर घटना घटेको दिन असोज १२ देखि करिब एक सातासम्म राज्य संयन्त्र छानबिन प्रक्रिया अघि बढाउन आलटाल गरिरहेको थियो भने पीडित रोशनी शाही पीडकको नियन्त्रणमा पुगेको र गम्भीर सुरक्षा चुनौती खेपिरहेको देखिन्थ्यो । यस्तो अवस्थामा निष्पक्ष छानबिनको सुनिश्चितता चुनौतीपूर्ण देखिन्छ ।
बलात्कारजस्तो गम्भीर आरोपमा निष्पक्ष छानबिनको सुनिश्चितता गरी पीडकलाई कारबाही गर्न र पीडितलाई सुरक्षित रूपले पुनःस्थापना गरी न्याय प्रदान गर्न महिला नेता र अधिकारकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । तर महरा–रोशनी प्रकरणमा महिला नेताहरू पूरै चुकेको देखिन्छ । सधैँभरि महिला अधिकारका लागि चर्को भाषण गर्ने सत्तारूढ नेकपाका महिला नेताहरू आश्चर्यजनक रूपले मौन रहे । प्रतिपक्षी नेपाली कांग्रेसका महिला नेताका आवाज पनि मधुरो थियो । महिला नेताहरूको यो मौनता र उदासीनताले उच्च तहबाट हुने अपराध लुकाउन मलजल गर्ने मात्र होइन, यौनजन्य हिंसा र बलात्कार पीडितलाई नेपालमा न्याय मिल्दैन भन्ने सन्देश पनि अन्तर्राष्ट्रिय जगत्मा प्रवाह भएको छ । यसरी महिला हक, अधिकार र न्यायका लागि अत्यावश्यक समयमा बोल्न नसक्ने हो भने संविधान र कानुनमा महिला आरक्षणको व्यवस्था किन गर्ने भन्ने गम्भीर प्रश्न पनि उठेको छ । महिला नेताहरू मात्र होइन, वैदेशिक सहायता लिएर महिला अधिकारका क्षेत्रमा काम गर्ने ‘अधिकारवादी’ महिलाहरूले समेत यस विषयमा बोल्न अरुचि देखाएका छन् । महरा पुनः राजनीतिमा फर्कने अवस्था आयो भने आज गरेको विरोधको ‘व्याकफायर’ होला भन्ने मनोवैज्ञानिक त्रास देखिन्छ सत्तारूढ नेकपाका महिला नेताहरूमा । महरा प्रकरणले महिला नेता र अधिकारकर्मीहरू सधैँ राजनीतिक र व्यक्तिगत लाभहानिका आधारमा घटनालाई उचाल्ने र थेचार्ने वा मौन बस्ने गर्छन् भन्ने गलत सन्देश समाजमा पुगेको छ यस पटक ।
दुःख र विपत्तिमा साथ र सहयोग दिनुपर्ने परिवार पनि पीडित शाहीसँग छैन यतिबेला । छोरा–छोरी सम्पर्कविहीन हुनु र श्रीमान् चित्रजंग शाहीले आरोपित महरासँग भेटघाट बढाउनु र पीडित रोशनीलाई बयान फेर्न दबाब दिनु सामान्य घटना होइन । पितृसत्ताले कसरी चौतर्फी रूपमा महिलालाई थप पीडित बनाउँछ भन्ने उदाहरण हो यो । रोग र घटनाले संकटमा परेकी श्रीमतीको अवस्थामा मजाक गर्दै सम्बन्ध विच्छेद गर्न तयार भएको संयुक्त हस्ताक्षरसहितको पत्र सामाजिक सञ्जालमा पोस्ट गरेर रोशनीका पतिले पुरुष दम्भ प्रदर्शन गरेका छन् । रोशनीले सम्बन्धविच्छेदको सहमतिपत्र सार्वजनिक भएपछि प्रहरीमा बलात्कार प्रयास भएको भनी महराविरुद्ध उजुरी दिएबाट बुझ्न सकिन्छ घटना कति नाटकीय मोडमा अघि बढिरहेको छ भन्ने । रोशनी शाही लामो समयदेखि श्रीमान्बाट समेत घरेलु हिंसाको सिकार भएकी छन् भन्ने देखिन्छ । उनी पारिवारिक र सामाजिक बहिष्करणमा परेकी छन् यतिबेला । यसै कारण जरुरी छ महिला नेता र अधिकारकर्मीहरूको साथ पीडितलाई ।
यौनहिंसा तथा बलात्कार सरकारवादी हुने फौजदारी मुद्दा भएकाले पीडितलाई उद्धार र पुनःस्थापना गर्ने दायित्व राज्यकै हो । घटनाको प्रमाण सुरक्षित गर्न र पीडितलाई आरोपितले डर, त्रास र प्रलोभनमा पार्न नदिन राज्यको भूमिका महत्त्वपूर्ण थियो । राज्य यो दायित्वबाट पूर्णतः विमुख भएको छ । राज्य व्यवस्थाभन्दा व्यक्ति शक्तिशाली भएको परिणाम हो यो । हुनत कम विकसित देशमा पदमा आसीन व्यक्ति राज्य संयन्त्रभन्दा बलिया हुन्छन् भन्ने कुरा विभिन्न अनुसन्धानले पनि प्रस्ट्याएका छन् । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको सहमतिपश्चात् मात्रै नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन लगाउने निर्णय गरेको हो । राजनीतिक लाभ हानिको हिसाबकिताब गरेर अध्यक्षद्वयमध्ये एकमात्र असहमत भएको भए सम्भवतः महराले सभामुखबाट पनि राजीनामा दिने थिएनन् । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालले घटनाको तत्कालै देखाएको संवेदनशीलता प्रशंसायोग्य कदम मान्नुपर्ने हुन्छ । यो घटनामा उनीहरूले पार्टीका महिला नेताहरूलाई पनि परामर्शमा निम्त्याएको र पीडकको कारबाही र पीडितको सुरक्षा कसरी गर्ने भन्ने योजना बनाउन सकेको भए पीडित यसरी विचलित हुने अवस्था आउने थिएन ।
घटनापछि पीडित रोशनीको फेसबुक उनका श्रीमान् वा अन्यत्रबाट अपडेट भएको सुनियो । त्यो असामान्य स्थितिबाट समाजमा महिलाको स्थान र उसलाई राज्यले हेर्ने दृष्टिकोण चरितार्थ हुन्छ । यस प्रकरणमा न त प्रहरी प्रशासन बोल्यो न त महिला नेताहरू । के महिला नेताहरू आफ्ना विचार राख्न स्वतन्त्र छैनन् ? उनीहरू राजनीतिक विचारमा दबिएर पिल्सिएर महिलाका हकहितका बारे बोल्न सक्दैनन् ? नारी मुक्तिका लागि बोल्नुको सट्टा किन आफ्नो पद सुरक्षित गर्नतर्फ लाग्छन् ? के पुरानो उठबस र चिनजान भएकै कारण महिलामाथि बलात्कार र यौनजन्य दुर्व्यवहार गर्ने छुट पुरुषलाई हुँदैन भनी बुझ्दैनन् ?
पूर्वसभामुख महराले लामो समयदेखि पीडित महिलाको शोषण गरेको भन्ने कोणबाट मूलधारका मिडियामा समाचारहरू आइरहेका छन् । एक माओवादी कार्यकर्ताले दिएको जानकारी अनुसार महरा पछिल्लो पटक अर्की एक युवतीको सम्पर्कमा पुगेपछि उनी रोशनीबाट मुक्त हुन चाहन्थे । जसको हिसाब किताब रोशनीले गर्न चाहेको भन्ने आरोप पनि छ । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी नै छ । रोशनी र महराको सहमतिको सम्बन्धलाई लिएर पूर्वमाओवादीका केही नेताहरू जानकार रहेकाले यसमा उनीहरू चुप रहेको भनिँदै छ । तर सहमतिमा हजारौं पटक सम्बन्ध भए पनि असहमतिमा सम्बन्ध राख्ने र हिंसा गर्ने अधिकार कसैलाई हुँदैन । समाजमा कुसंस्कार र गलत नजिर स्थापित गर्ने छुट कसैलाई छैन ।
महरा प्रकरण बलात्कारमा शून्य सहनशीलता अपनाउने भनी सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा पटक–पटक गरेको प्रतिबद्धताको ठाडो उपहास पनि हो । हालै संयुक्त राष्ट्रसंघ र केही पश्चिमाहरूले विज्ञप्ति जारी गर्दै महिलाविरुद्ध हुने सबै प्रकारको हिंसालाई अन्त्य गर्ने अभिसन्धि अनुसार नेपालले त्यस्तो घटनामा निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । नेपाल प्रहरीमा गत आर्थिक वर्षमा तीन हजार १६ वटा बलात्कारका घटना दर्ता भएकोमा करिब एक हजारभन्दा बढीमा पीडित महिलाले बयान फेरेको विषय मिडियामा आएको छ । डर, त्रास र प्रलोभनमा पारेर बलात्कार र घरेलु हिंसाका पीडितलाई बयान फेर्न बाध्य पारिएको जगजाहेरै छ । रोशनीको हकमा पनि त्यही अवस्था सिर्जना गरी घटना विपरीत दिशामा मोडिने प्रबल सम्भावना छ । यौनहिंसामा सधैँभरि चोरबाटो अर्थात् बयान फेरेर उन्मुक्ति दिने हो भने अरू सयौं रोशनी शाहीहरू देखापर्ने छन् । महराजस्ता चरित्र राजनीतिक तापमा सलबलाई रहने छन् ।
अन्तमा महिला नेताहरूले पार्टीगत घेरा तोड्दै महिला विरुद्धका सबैखाले विभेदको समूल नष्ट गर्न एकजुट हुनुपर्दछ । अन्यथा आरक्षणको प्रतिशतमा मात्र महिला सबलीकरण देखिन्छ व्यवहारमा होइन । महरा पक्राउसँगै यो घटना अब प्रहरी र सरकारी वकिलको हातमा पुगेको छ । यी दुवै संस्था विगतमा अत्यधिक राजनीतिक हस्तक्षेप भोगेका संस्था हुन् । त्यसैले निष्पक्ष छानबिनका लागि महिला नेता र अधिकारकर्मीहरूले आवाज उठाउनु जरुरी छ । अन्यथा नेपालमा राजनीतिक संरक्षणमा हुने दण्डहीनता, मानवअधिकार र महिलाहिंसा मुद्दा थप अन्तर्राष्ट्रियकरण हुने निश्चित छ । संयोग नै मान्नुपर्छ शक्ति र पदको विशाल घेरा तोड्दै महरा प्रकरण बाहिर ल्याउन नेपाली सञ्चारमाध्यम सफल भएका छन् । एउटा अनलाइनबाट सार्वजनिक भएको यो घटना देशका सबैजसो ठूला मिडियाहरूले एकसाथ र निरन्तर प्रकाशन तथा प्रसारण गर्दा पनि महिला नेताहरू मैदानमा उभिन सकेका छैनन् । महिलाहरूको मौनतामा सञ्चारमाध्यमले बारम्बार प्रश्न गरेका छन् । तैपनि उनीहरू अनुत्तरित छन् । के महिला नेताहरू अझै पनि महिला हकहित र न्यायका लागि राजनीतिक घेरा तोडेर एक हुन सक्दैनन् ? के तेत्तीस प्रतिशत र पचास प्रतिशत आरक्षणका निम्ति महिलाहरूको लडाइँ पीडकलाई समर्थन मिल्ने गरी मौन रहनकै लागि हो ?

Page 8
कला र शैली

तामाङ सेलो हराउँदै मौलिकता

- सुशीला तामाङ
तामाङ सेलोको म्युजिक भिडियोमा अभिनय गर्दै कलाकार । तस्बिर ः कान्तिपुर

(काठमाडौं) - कुनै समय तामाङ समुदायमा चन्द्रकुमार मोक्तानका मौलिक सेलो गीतहरू चर्चित थिए । रेडियो नेपालको फूलबारी कार्यक्रममार्फत् तीसको दशकमा उनैले तामाङ सेलोलाई पहिलोपटक श्रोतामाझ घन्काएका थिए । त्यसयता उनले निकालेका अधिकांश एल्बमहरू तामाङ मौलिकतामा आधारित रहे । पछिल्लो समय सेलो संगीतमा आधुनिक प्रयोगहरू भित्रिएपछि उनी गीति साधनाबाटै अलग भएका छन् ।
केही वर्षअघि सेलो गायक चन्द्रकुमार दोङको रचना तथा संगीतमा सेलो तथा लोक गायिका इन्दिरा गोले र दोङकै स्वरमा आएको गीत ‘आपा त गाङ्दान, मावली स्याङ्तान...’ गीत नेपाली भाषामा भए पनि तामाङ जातिको संस्कृति, परम्पराको आभाससँगै डम्फूको ताल सुन्न सकिन्थ्यो । गोपीलाल बमजनको शब्द तथा सोनाम बज्युको संगीतमा दोङ र गोलेकै स्वर रहेको अर्को गीत ‘तोर्सेला ला स्योङ...’ मा पनि तामाङ मौलिक भाषा, परिवेश, रहनसहनलाई समेटिनुका साथै उत्तिकै मौलिकपनको मिठास पाइन्छ ।
अचेल भने तामाङ सेलोमा मौलिकता हराउँदै गएको गुनासा सुन्न सकिन्छ । गीतहरू मौलिकतालाई बिर्सिंदै नेपाली लोकदोहोरी र आधुनिक गीतको प्रभावमा रंगिन थालेका छन् । कतिपय गीतहरूमा गजलको प्रभाव पनि भित्रिएको छ । प्रदेश नम्बर ३ को पहिलो जनसंख्याको रूपमा रहेको तामाङ समुदायको सांगीतिक/सांस्कृतिक पहिचान बोकेको सेलोले मौलिकता गुमाउँदै गएकोप्रति चिन्तित छिन् गायिका इन्दिरा गोले । तामाङ सेलो भन्नेबित्तिकै यसमा आफ्नै मौलिक धार र पन रहेको गोलेको धारणा छ । ‘डम्फू र टुङ्नाको तालमा नै तामाङ जातिको मौलिक धुन जोडिएको छ,’ उनी भन्छिन्, ‘तर, अचेल मौलिकता नै संकटमा पर्दै गइरहेको देख्छु ।’
तामाङ समुदायसँग जोडिएको भए पनि सिंगो नेपाली सांगीतिक क्षेत्रमा सेलोको योगदान छ । तीसको दशकभन्दा अघिदेखि नै तामाङ सेलो नेपाली भाषामा समेत आएको देखिन्छ, यो क्रम अहिलेसम्म निरन्तरता छ । लोकभाकालाई आधुनिक संगीतमा ढाल्न माहिर शम्भुजित बाँस्कोटाले समेत आफ्नो सांगीतिक करिअरको सुरुवाततिर ‘सिन्धुपाल्चोककी मैंच्याङ...’ बोलको सेलो गीत नेपालीमा ल्याएका थिए । केहीअघि टीभी रियालिटी सो लोक स्टारमा विशेष निर्णायक भएर प्रस्तुत भएका उनले यही गीतको टुक्रासमेत गाउन भ्याए । लोकगायक कुमार बस्नेतका थुप्रै गीतहरू तामाङ सेलो आधारित छन् । तामाङ सेलोलाई नेपाली भाषामा प्रवर्द्धन गर्न उनले ठूलो योगदान दिएका मानिन्छ । गोपाल योञ्जनका पनि केही गीत सेलो आधारित छन् । केही वर्षअघि मात्रै अभिनेता निखिल उप्रेतीले आफ्नो पछिल्लो फिल्म ‘पिँजडा ब्याक अगेन’ मा आफैंले संगीत भरेर नेपालीमा तामाङ सेलो गीत राखेका थिए भने दीपेन्द्र लामाको फिल्म ‘घामपानी’ मा पनि नेपाली भाषामै सेलो गीत प्रयोग गरिएको छ ।
नेपाली भाषाको सांगीतिक दुनियाँमा समेत सेलोको लोभलाग्दो प्रयोग भइरहेको बेला स्वयं तामाङ समुदायको गायक–गायिकाले भने मौलिकता भुल्दै जानु आफैंमा दुर्भाग्यपूर्ण रहेको तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाइबा बताउँछन् । उनका अनुसार लामो समयदेखि तामाङ कलाकारहरूका साझा संस्थाको रूपमा संघ क्रियाशील रहे पनि उचित नीति नियम नभएको हुनाले अहिले तामाङ सेलो भन्दै ‘जे पायो त्यही गीतहरू’ आइरहेका छन् । युट्युबमा सर्च गर्दा पनि त्यस्तै देखिन्छ । थुप्रै गीतहरू मौलिकताभन्दा पनि भ्युज बढाउने प्रकृतिका मात्रै भेटिन्छन् । गीतका शब्दहरू पनि सेलोको भलाद्मीपनभन्दा उटपट्याङ प्रवृत्तिलाई बढावा दिने प्रकृतिका भेटिन्छन् । केही गीतहरू त काँठको लोकदोहोरीबाट समेत प्रभावित छन्, भाषामात्रै तामाङ ।
अध्यक्ष वाइबाका अनुसार नेपाली भाषामा गाइने सेलो गीत होस् या तामाङ समुदायमा प्रचलित ताम्बा (रीतिरिवाज) या फापरे (प्रणयपरक) गीत होस्, त्यस्ता संगीतसित तामाङ जातिको संस्कृति, इतिहास, परम्परा र जीवनशैली अभिन्न रूपमा जोडिएका हुन्छन् । ‘तर, त्यसो हुन सकिरहेको छैन,’ उनी भन्छन्, ‘भाषा तामाङ भएर मात्रै सेलो गीत हुँदैन ।’ प्रविधिको सहज पहुँच र गीत हेर्ने माध्यम फेरिएकाले पनि अहिले मौलिकताभन्दा पनि दर्शक/श्रोतामुखी बजारिया गीत संगीतको बाढी आएको अनुमान गर्न सकिन्छ । आधुनिक शैलीमा बनेका थुप्रै तामाङ सेलो गीतहरूले युट्युबमा राम्रै भ्युज पनि पाएका छन् । रोज मोक्तान, विश्व दोङ, विशाल काल्तान, शशिकला मोक्तान, निर्मला घिसिङ, कृष्ण वाइबा, जितु लोप्चन, केबी लामा, मिंग्स लामा, हीरा लामालगायत गायक–गायिकाहरूको सेलो गीतहरूलाई अहिलेका नयाँ पुस्ताले रुचाएको देखिन्छ ।
रुचाइएका धेरैजसो गीतहरू आधुनिक शैलीका छन्, जसमा डम्फूको सट्टा मादल, किबोर्ड, सारंगीदेखि गिटारसम्म प्रयोग गरिएका छन् । कतिपय गीत सुन्दा र भिडियो हेर्दा भाषा मात्र तामाङ भेटिन्छ । भाषा झिकिदिनेबित्तिकै अरू नै गीत बन्न जान्छ । लामो समयदेखि सेलो संगीतमा क्रियाशील गायिका गोले तामाङ सेलोमा आधुनिकता भित्रिए पनि भाका तथा ताल मिलाउँदा मौलिकतालाई भुल्न नहुने बताउँछिन् । ‘डम्फूको तालसँगै शब्दमा तामाङ चिनारी छैन भने त्यसलाई कसरी तामाङ सेलो भन्ने ?’ उनी भन्छिन्, ‘हुँदाहुँदा अहिले त गीतबाट डम्फू नै हराउन थाल्यो ।’ समय, परिवेश र रुचिअनुसार लोकगीतलाई परिमार्जन गर्ने परम्परा रहेको भए पनि ‘आफ्नो र अरूको गीतबीचको भिन्नता के छ भन्नेबारे नयाँ पुस्ताले केलाउनुपर्ने’ उनी सुझाउँछिन् । गायनमा करिअर बनाउँदै गरेका केबी लामाको भने फरक विचार छ । उनी समयअनुसार गीतहरूमा नयाँपन ल्याउनुपर्ने दाबी गर्छन् ।
सेलो संगीतमा दुई दशक लामो अनुभव बोकेका गायक विश्व दोङ ‘पहिलेको तुलनामा अहिले बढी नै बजारकेन्द्रित बन्दै गइरहेको कारणले सेलो संगीतमा विकृति आइरहेको’ स्विकार्छन् । उनका अनुसार तामाङ सेलोमा डम्फूको तालले अन्य गीतसंगीतभन्दा भिन्नै मिठास र जोस दिन्छ । हालै मात्र सेलो भाकामै पूर्वेली तामाङ समुदायको गाउँ–ठाउँको बयान समेटेर ‘घुम्दै फिर्दै’ गीत ल्याएका दोङ भन्छन्, ‘बजारमा के बिक्छ भनेर सेलो गीतको मौलिकता नै परिवर्तन गर्नचाहिँ हुँदैन ।’ तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाइबाको मत पनि यही छ । उनी ‘कस्तो गीत सेलो हुने कस्तो नहुने’ भन्नेबारे संस्थागत रूपमै नियमन गर्नुपर्ने बेला आएको बताउँछन् ।

कला र शैली

पर्दामा तालुखुइले भिडन्त

- कान्तिपुर संवाददाता

म सलेदार सूत्रबद्ध फिल्मका लागि कुख्यात बलिउड पछिल्ला वर्षमा विषयवस्तुको खोजमा लागेको छ । नवीन विषयमा बनेका साना बजेटका मध्यम कलाकारका फिल्मले नै पनि बक्सअफिसमा राम्रो कमाइ र समीक्षा गतिलो बटुल्न थालेका छन् । यस्ता फिल्मको बागडोर नवाजुद्दिन सिद्दिकीदेखि आयुष्मान खुराना, राजकुमार रावहरूले सम्हालिरहेका छन् ।
पछिल्लो पटक महिला भेषमा फिल्म ‘ड्रिमगर्ल’ मा देखिएका अभिनेता खुराना अब फेरि नयाँ कथावस्तु र भेषसहित फिल्म ‘बाला’ मा देखिँदै छन् । वयस्कमा नै तालुखुइले हुँदा समस्या भोग्नुपरेको एक युवकको भूमिकामा रहेका खुरानालाई यतिबेला अर्को तनाव थपिएको छ । तालुखुइले युवककै समस्यालाई मुख्य विषयवस्तु बनाइएको अर्को फिल्म ‘उजडा चमन’ पनि सँगसँगै रिलिज हुने भएको छ । ‘कात्तिक ८ मा ‘उडता चमन’ रिलिज हुने तय भएपछि ‘बाला’ ले पूर्ववत् आफ्नो रिलिज मिति मंसिर ६ बाट एक महिनाअघि सारिएको हो । उस्तै कथावस्तुको ‘उजडा चमन’ अघि नै आउने भएपछि ‘बाला’ का निर्माताले पनि फिल्मलाई अपरझट अघि सारेका हुन् ।
‘बाला’ ले रिलिज मिति हठात् रूपमा अघि सार्दै आफ्नो फिल्मभन्दा एक दिनअघि रिलिज गर्न लागेपछि ‘उडता चमन’ निर्देशक अभिषेक पाठकले रोष व्यक्त गरेका छन् । पाठकले अन्तिम समयमा आएर यसरी रिलिज मिति सार्नुलाई गैरकानुनी भन्दै ‘बाला’ निर्माताविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् । ‘हाम्रो फिल्मको रिलिजभन्दा एक दिनअघि नै एकाएक ‘बाला’ ल्याउनु यो एकदमै गैरकानुनी हर्कत हो,’ पाठकले भनेका छन्, ‘के उनीहरू हामीदेखि तर्सिएका हुन् ? जब कि उनीहरूको फिल्ममा त आयुष्मानजस्ता ठूला कलाकार पनि छन् । यसै पनि रिलिज अगावै उनीहरूको हात हाम्रो भन्दा माथि नै छ । तैपनि उनीहरू दलदलमाथि उभिएको जस्तो अनुभव किन गरिरहेका छन् ?’ मलायालम फिल्म ‘ओन्डु मोत्तेया काते’ को आधिकारिक रिमेक ‘उडता चमन’ को शीर्ष भूमिकामा सनी सिंह अभिनीत छन् । ‘उडता चमन’ को ट्रेलर सार्वजनिक भएपछि समान कथावस्तु भएकोले झस्किएका ‘बाला’ निर्मातालाई त्यसको ट्रेलर प्रतिक्रियाले तर्साएपछि रातारात रिलिज मिति अघि सारिएको अड्कल काटिएको छ । तर यतिबेला यी दुई फिल्मको रिलिज लडाइँको चपेटामा भने अर्को फिल्म ‘मरजावा’ पनि परेको छ । सिद्धार्थ मल्होत्रा, रितेश देशमुख स्टारर ‘मरजावा’ पहिले मंसिर ६ मा नै रिलिज हुने तय थियो । तर सोही मितिमा ‘बाला’ आउने भएपछि अघि सर्दै कात्तिक ८ लाई निश्चित गर्‍यो । अब फेरि ‘बाला’ पनि सरेर एक दिनअघि नै रिलिज हुने भएपछि ‘मरजावा’ बिलखबन्दमा परेको हो । अन्ततः उक्त फिल्मले सम्भावित भिडन्तलाई टार्दै नयाँ मिति कात्तिक २९ लाई नयाँ मिति तय गरेको छ ।
– एजेन्सी

कला र शैली

मगर समुदायको दसैं

- काशीराम डाँगी

(रोल्पा) - दसैं जारी छ । टाढाका आफन्तलाई पूर्णिमासम्म भेटेर दसैंको टीका लगाउनेको आवातजावत गाउँघरतिर चहिरहन्छ । मगर समुदायको बाहुल्य रहेको रोल्पामा भने मिश्रित प्रकृतिको दसैं मनाइन्छ । कतिपय मगर गाउँमा दसैंका बेला जमराका साथमा सेतो टीका लगाउने चलन छ । कतै भने रातो लगाइन्छ । कतै टीका नै लगाइँदैन । ‘पश्चिमी रोल्पामा कतिपय गाउँमा रातो टीका लगाएर दसैं मनाउँछन् भने कहीं सेतो टीका लगाएको पनि देखिन्छ,’ नेपाल मगर संघका जिल्ला सचिव जोखबहादुर पुन भन्छन् ।
उनका अनुसार मगर समुदायमा टीकाभन्दा पनि चेलीबेटी माइतीमा जाने, नाचगान गर्ने, भेटघाट गर्ने र मीठो खाने कुरा खाने चलन छ । मगर चेलीले माइतीमा पुग्दा र चाडपर्वका बेला जाँदा रक्सी, रोटी, मासुलगायत घरमै तयार पारिएको कोसेली लैजाने गर्छन् । मगर अध्येता खेम बुढाका अनुसार दसैं, तिहारलगायत कतिपय चाडपर्व मनाउने चलन परम्परादेखि नभए पनि परिवारका सदस्य एकै स्थानमा भेला हुने र रमाइलो गर्ने चलन भने छ । ‘टीका मात्रै नलाउने हो । खानपिन, नाचगान र भेटघाट भने गर्ने चलन छ,’ उनले भने ।’
यस्तै मगर समुदायमा नवरात्रका बेला नियमित पूजाआजा गर्ने चलन नभए पनि महाअष्टमीका दिन देवीलाई बलि दिने चलन छ । त्यसैले उनीहरू महाअष्टमीको दिनलाई ‘मार हान्ने दिन’ भनेर चिन्छन् । मगर समुदायमा टाढा रहेका परिवारका सदस्य त्यस दिन घरमा पुग्नैपर्ने हुन्छ । संस्कृतिकर्मी एवं मगर अध्येता बमकुमारी बुढामगरका अनुसार मगर समुदायमा साउने संक्रान्ति, माघे संक्रान्ति, भूम्या पर्व, जेठ पुन्नी (जेठ पूर्णिमा)लगायत पर्व प्रचलित छन् । ‘फागुने पुन्नीमा जौंको बाला, ऋषि पुन्नीमा मकैको घोगा, सरादे पुन्नी (सोह्र श्राद्ध) मा धानको बाला कुलदेउता र पितृलाई चढाइन्छ,’ उनले भनिन्, ‘वैशाखे–जेठ पुन्नीमा मकैको जाँड र मंसिरे पुन्नीमा चामलको जाँड पितृलाई चढाउने चलन छ । नयाँ अन्नको जाँड झाँक्री र पुजारीले कुलदेवता र पितृलाई चढाएपछि मात्रै अरूले खान मिल्छ ।’
चाडपर्वका बेला नाचिने आफ्नै लोकप्रिय नाच पनि छन् । पैसेरु, सारंगे, बजौरे, सिङारु, धोता, जुगी, भूम्यालगायतका नाच मगर समुदायमा प्रचलित छन् । अध्येता बुढाले तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको अवधिमा ती नाचलगायत सिंगो मगर संस्कृतिमाथि नकारात्मक प्रभाव परेको बताइन् । माओवादीले ती नाच नाचेर जनमत तान्ने प्रयास गरे पनि मौलिकता गुमेको उनको तर्क छ । तत्कालीन राज्य र मगर अगुवाले मगर समुदायको सांस्कृतिक र धार्मिक पहिचान गुमाइदिएको आरोप मगर अध्येता एवं पत्रकार खेम बुढाको छ । ‘मगर समुदायलाई चौबाटोमा अड्याइयो,’ उनले भने, ‘त्यसैले धार्मिक र सांस्कृतिक रूपमा मगरहरूबीच एकरूपता र ठोस संस्कृति निर्माण हुनै सकेन ।’

कला र शैली

शर्माको यात्रा–संस्मरण

- कान्तिपुर संवाददाता
ॅढिकपुरदेखि अर्घाखाँचीसम्म’ सार्वजनिक कार्यक्रमका सहभागी । तस्बिर ः कान्तिपुर

 

दाङ (कास)– पद्मप्रसाद शर्माको यात्रा–संस्मरण ‘ढिकपुरदेखि अर्घाखाँचीसम्म’ घोराहीमा सार्वजनिक भएको छ । शर्माले १३ औं पुस्तकका रूपमा यात्रा संस्मरण प्रकाशन गरेका हुन् । पुस्तकको समीक्षा गर्दै साहित्यकार टीकाराम उदासीले पुस्तकले यात्रामार्फत् विभिन्न क्षेत्रको समाज, परिवेश र भूगोलको स्पष्ट चित्रण गरेको बताए ।
अग्रज साहित्यकार नारायणप्रसाद शर्माले यात्रालाई साहित्यमा उतार्ने सीप अनुकरणीय भएको बताए । शब्द संयोजन, प्रस्तुति र विषयवस्तुका हिसाबले पुस्तक उपयोगी भएको उनले बताए । प्रगतिशील लेखक संघका पूर्वकेन्द्रीय अध्यक्ष अमर गिरीले जीवनका भोगाइलाई पुस्तकमा अभिलेखीकरण गर्ने काम साहित्यकारका लागि जरुरी रहेको बताए । विभिन्न ठाउँ र परिवेशले फरकफरक समाज र संस्कृति दर्साउने भएकाले यस्तो पुस्तक उपयोगी हुने उनले बताए । राप्ती साहित्य परिषद्का सल्लाहकार गिरिराज शर्मा, अध्यक्ष पुरुषोत्तम खनाल, लेखक संघका अध्यक्ष खगराज न्यौपाने, साहित्यकार कमलमणि देवकोटा, केशव थापा, छविलाल कोपिलालगायतले पुस्तकबारे चर्चा गरेका थिए ।

कला र शैली

नेपाली फिल्ममा ओइरिए दर्शक

'छ माया छपक्कै' ले तोड्यो ओपनिङ रेकर्ड
- कान्तिपुर संवाददाता
काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हलमा ॅछ माया छपक्कै’ हेर्न पुगेका दर्शक ।

 

काठमाडौं (कास)– वर्ष २०७६ को सुरुवात नेपाली फिल्मका लागि सुखद हुन सकेन । जेठ ३ मा आएको प्रदीप भट्टराई निर्देशित ‘जात्रैजात्रा’ ले गतिलो व्यापार मात्रै गरेन, प्रतिक्रिया पनि सुखद पायो । तर त्यसपछिका चार महिना नेपाली फिल्मका बक्सअफिसमा खडेरी चल्यो ।
बीचबीचमा आएका ‘दालभात तरकारी’ र ‘घर’ ले भरथेग गर्न त खोजे, तर सकेनन् । असोज ३ मा रिलिज रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले भने आक्रामक सुरुवात गर्‍यो । दयाहाङ राई स्टारर उक्त फिल्मले पहिलो दिन नै १ करोड ४७ लाख रुपैयाँको ग्रस व्यापार गर्न सफल भयो । यतिबेला चौथो सातामा पनि प्रदर्शनरत फिल्मले तीन सातामा देशभरबाट १३ करोड २५ लाख रुपैयाँ बराबरको टिकट बेच्न सफल भएको वितरकको दाबी छ । हिन्दी फिल्म ‘साहो’ र नेपाली फिल्म ‘रातो टीका निधारमा’ रिलिजले पनि ‘कबड्डी कबड्डी कबड्डी’ को व्यापारलाई खासै असर पारेन । फिल्मका निर्देशक गुरुङले ‘कबड्डी’ का यसअघिका सिरिजभन्दा ‘कबड्डी कबड्डी कबड्डी’ लाई दर्शकले बढी हेरेको र रुचाइदिएकोमा प्रशन्नता व्यक्त गरे । उनले फिल्मलाई इमानदार भई राम्रो बनाउने प्रयास गर्दा दर्शकले साथ दिने प्रस्ट भएको बताएका छन् ।
‘छक्का पन्जा’ सिरिजबाट हलमा दर्शकको भीड बढाउन सफल दीपकराज गिरी समूह यसपटक ‘छ माया छपक्कै’ सहित आए । गत शुक्रबारदेखि प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित उक्त फिल्मले यतिबेला रेकर्डतोड ओपनिङ गरेको छ । वितरकका अनुसार, ‘छ माया छपक्कै’ ले रिलिजको पहिलो दिन शुक्रबार देशभरबाट १ करोड ५० लाख रुपैयाँ हाराहारीको ग्रस कलेक्सन गरेको छ । काठमाडौं उपत्यकाबाहिर मात्रै उक्त फिल्मले झन्डै ७७ लाख रुपैयाँको व्यापार गरेको दाबी छ । यसअघि यही समूहका दुई फिल्म ‘छक्का पन्जा २’ ले फूलपातीको बिदामा उपत्यकाबाहिर ७३ लाख रुपैयाँ र ‘छक्का पन्जा ३’ ले बिदारहित पहिलो दिन ५९ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको निर्माता तथा अभिनेता दीपकराज गिरीले बताए । बिदा रहित दिनमा रिलिज
‘छ माया छपक्कै’ ले भने दुवै रेकर्डलाई तोडिदिएको छ । ‘छक्का पन्जा ३’ ले १९ करोड ६ लाख रुपैयाँको व्यापार गर्दै लाइफ टाइम ग्रस कलेक्सनको रेकर्ड राखेको छ ।
यसपटक राजनीति र पानी संकटलाई मूल विषयमा राखी बनाएको ‘छ माया छपक्कै’ लाई लिएर निर्माता तथा अभिनेता गिरी व्यापारलाई लिएर केही डराएका रहेछन् । ‘हो, मलाई यसपटक कतै पूरै राजनीतिक फिल्म त बनाइन भन्ने डर थियो,’ डराउनुको कारण प्रस्ट्याउँदै उनले थपे, ‘जति नै राम्रो भए पनि यसअघिका राजनीतिक विषयमा केन्द्रित फिल्मको व्यापारिक इतिहास गतिलो छैन । तर हामीले जोखिम मोलेकै हौं ।’ उक्त जोखिमलाई भने फिल्मको जबरजस्त ओपनिङले खारेज गरिदियो । शुक्रबार फिल्मको बिहानी सो केही सुस्त भए पनि त्यसपछि अधिकांश स्टेसनका हलमा हाउसफुल व्यापार गर्‍यो । आइतबारको सरकारी बिदाले पनि ‘छ माया छपक्कै’ को व्यापारलाई सघाउने देखिन्छ । ‘कतिपय फिल्मको एकदमै राम्रो ओपनिङ हुन्छ तर दर्शक प्रतिक्रिया गतिलो हुँदैन । तर हाम्रो फिल्म हेरेर निस्किएका दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका थिए,’ अभिनेता गिरीले भने, ‘अझै पनि सिंगल स्क्रिनका दर्शक चाँडै घट्छन् कि भन्ने डर विद्यमान नै छ । किनभने यसपटक हामीले विषयवस्तुमा बसेर मात्रै हसाएका छौं ।’ उनले फिल्मले १० देखि १२ करोड रुपैयाँको ग्रस कलेक्सन गर्ने अनुमान सुरुवाती व्यापार हेर्दा केही बढ्न सक्ने अनुमान गरे । भने, ‘राजनीतिप्रति वितृष्णा जागेकाले फिल्म हेरेर बढी ताली पिटिरहेका छन् । तर पनि सिंगल स्क्रिनका दर्शकले फिल्म दोहोर्‍याएर हेरे वा मल्टिप्लेक्समा नयाँ दर्शक तानिएको खण्डमा मात्र हलमा दर्शक चाप रहिरहनेछ ।’

Page 9
विदेश

जापानमा ६ दशकयताकै शक्तिशाली आँधी

२ को मृत्यु, ५० हजार विस्थापित
- एजेन्सी
जापानमा आएको शक्तिशाली आँधीका कारण राजधानी टोकियोनजिकैको चिबामा क्षतिग्रस्त कार तथा संरचना । तस्बिर ः एपी

 

टोकियो – जापानामा शनिबार आएको शक्तिशाली आँधीले राजधानी टोकियो तथा वरपरका क्षेत्रमा क्षति पुर्‍याएको छ । अधिकारीका अनुसार ‘हगिबिस’ आँधी सन् १९५९ यताकै शक्तिशाली हो ।
आँधीका कारण भीषण वर्षा हुनुका साथै कपिय स्थानमा बाढी गएको छ । हालसम्म २ जनाको ज्यान गएको अधिकारीले पुष्टि गरेका छन् । जापानी सञ्चामाध्यमका अनुसार दसौं हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।
जापानको जलवायु निकायका अनुसार आँधीसँगैको १८० किलोमिटर प्रतिघण्टाको हावाहुरीले थप वर्षा तथा बाढी निम्त्याउन सक्ने जनाएका छन् । भीषण आँधीसँगै रग्बी विश्वकप तथा फर्मुला–वानका केही खेलहरू स्थगित गरिएका छन् ।
जापानको जलवायु संस्थाका अधिकारी यासुशी काजिवाराले शनिबार राति र आइतबार बिहानसम्म राजधानी टोकियोमा कम्तीमा आधा मिटर वर्षा हुने बताए उनले भने, ‘कतिपय सहर तथा गाउँमा हालसम्मकै ठूलो वर्षा भएपछि आपत्कालीन अवस्था सूचना जारी गरिसकिएको छ ।’
अधिकारीहरूले सम्भावित जोखिमका क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सर्न सूचना जारी गरेका बीबीसीले जनाएको छ । आँधीको प्रभावका कारण कयौं उडानहरू रद्द भएका छन् भने रेल सेवा बन्द छ । आँधी प्रभावित मानिसलाई विभिन्न अस्थायी शिविरमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टोकियोको पश्चिममा रहेको अस्थायी शिविरमा रहेका जेम्स बाबले ‘भीषण वर्षाका कारण आफ्नो घरनजिकैको नदी अनियन्त्रित भएपछि आफू विस्थापित भएको’ बताए । उनले भने, ‘म मेरी शारीरिक रूपमा अशक्त बहिनीसँगै शिविरमा छु । मेरो घर बाढीले बगाउन पनि सक्छ ।’ उनका अनुसार सरकारी अधिकारीले शिविरमा रहेका विस्थापितलाई बिस्कुट र ओढ्ने बाँडेका छन् ।
टोकियोको उत्तरी क्षेत्र टोचिगिका अंग्रेजी भाषा शिक्षक एन्ड्रिउ हिगिन्सले ७ वर्षयता आफूले निकै धेरै आँधी अनुभव गरेको बताए । ‘मलाई यो आँधी अन्यभन्दा निकै भयावह लागेको छ,’ उनले भने, ‘निकै धेरै मानिस आँधीमा फसेका छन् ।’


अस्थायी शिविरबाट जापानको सरकारी टेलिभिजनसँग कुरा गर्दै
९३ वर्षीयले भने, ‘आँधीले मेरो घरको छाना उडाएपछि म विस्थापित भएँ । मलाई मेरो घरको निकै चिन्ता लागिरहेको छ ।’
आँधी हालसम्म समुद्री क्षेत्रभन्दा बाहिर नै सक्रिय रहेको भए पनि टोकियोको पूर्वी क्षेत्रका चिबामा टोर्नाडोजस्तै हावाहुरी आएको अधिकारीले जनाएका छन् । जसका कारण उक्त क्षेत्रमा दर्जनौं घर क्षतिग्रस्त भएका छन् भने कारहरू पल्टेका छन् । फिलिपिनो भाषामा ‘गति’ बुझाउने हगिबिस आँधीले जापानको मुख्य द्वीप होन्सुलाई पूर्णरूपमा क्षतिग्रस्त बनाउने आंकलन गरिएको छ । अधिकारीका अनुसार हगिबिस आँधी सन् १९५९ मा जापानमा आएको भेरा आँधीपछिकै शक्तिशाली मानिएको छ । भेरा आँधीका कारण कम्तीमा ५ हजार मानिसको ज्यान गएको थियो ।
‘हगिबिस आँधीले जापानमा हालसम्मकै ठूलो वर्षा गराउने तथा हावाहुरी ल्याउन सक्छ,’ जलवायु संस्थाका अधिकारीले भनेका छन् । उनका अनुसार आँधी प्रभावित कपितय स्थानका मानिस थप सूचना तथा अधिकारीको सल्लाहका लागि पर्खिरहेका बीबीसीले जनाएको छ । जापानमा गतसाता आएको फाक्साई आँधीका कारण विभिन्न क्षेत्र प्रभावित बनेका थिए । आँधीले ३० हजारभन्दा बढी घर ध्वस्त पारेको थियो ।

विदेश

एक लाखभन्दा बढी विस्थापित

सिरियामा टर्कीको आक्रमण
- एजेन्सी
सिरियाको उत्तरी क्षेत्रमा टर्कीका सरकारी सुरक्षाप फौजले गरेको आक्रमणपछि सुरक्षित स्थानतर्फ जाँदै गरेका कुर्द समुदायका सर्वसाधारण ।तस्बिर ः एपी

अंकारा/बेरुत – संयुक्त राष्ट्रसंघले उत्तर–पूर्वी सिरियामा टर्कीले जारी राखेका हवाई र स्थलगत आक्रमणका कारण एक लाखभन्दा बढी विस्थापित भएका जनाएको छ ।
राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफान डुजार्रिकले जारी गरेको विज्ञप्तिअनुसार कुर्दिस लडाकु समूह र टर्किस फौजबीचको झडपमा दुवैतर्फ हताहत भएका जनाइएको छ ।
राष्ट्रसंघीय मानवअधिकारका लागि उच्चआयुक्तको कार्यालय (ओएचसीएचआर) ले सीमा क्षेत्रका तल अब्याद तथा रस अल–ऐन सहरमा निरन्तर बम विस्फोट भएका तथा त्यहाँको अवस्था भयावह रहेको जनाएको छ ।


राष्ट्रसंघीय आपत्कालीन
राहत समन्वयकर्ता जनरल मार्क लोकोकले टर्की सीमाक्षेत्रमा भ्रण गरेका छन् । टर्कीले उक्त क्षेत्रमा आक्रमण गर्नुअघि नै लोकोकले अंकारा तथा टर्की–सिरिया सीमा क्षेत्रको भ्रमण गर्न लागेको बताएका थिए । उनले सीमाको दुवै क्षेत्रमा नागरिकको हताहतीबारे चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रसंघीय कार्यालयले ‘युद्धका क्रियाकलाप तथा सैन्य कारबाही अन्तर्राष्ट्रिय मानवीय कानुनअनुरूप हुनुपर्ने’ समेत जनाएको छ । द्वन्द्वका कारण विस्थापित नागरिकलाई घर फर्कन वा सुरक्षित स्थानमा जान दिनसमेत युद्धरत पक्षसँग कार्यालयले आग्रह गरेको छ ।
टर्कीको आक्रमणबाट विस्थापित बालबालिकाहरू सिरियाको पश्चिमी प्रान्त हस्साकेतर्फ लागेका बीबीसीले जनाएको छ । टर्कीलाई सैन्य कारबाही रोक्न अमेरिकाले दबाब दिएको छ । आक्रमण नरोके टर्कीले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने अमेरिकी रक्षामन्त्रीले चेतावनी दिएका छन् । तर त्यसको प्रतिक्रियामा टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले ‘कसैको चेतावनीले आक्रमण नरोकिने’ बताएका छन् ।
टर्कीले सिरियास्थित कुर्दिस फौजका कारण आफ्नो देशमा अस्थिरता बढेको भन्दै बिहीबार सैन्य आक्रमण गरेको हो । टर्कीका राष्ट्रपतिले ‘युफ्रेटिज नदीको पूर्वी क्षेत्रका कुर्द लडाकुलाई विस्थापित गरी सिरियाली शरणार्थीका लागि सुरक्षित क्षेत्र निर्माण गर्न कारबाही चलाएको’ बताउँदै आएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियाबाट फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द बाहुल्य क्षेत्रमा हमला गरेको हो । टर्कीले उक्त क्षेत्रमा आक्रमण गर्नका लागि अमेरिकी कदमले सहज भएको ठानिएको छ ।


टर्कीस फौजले ‘अप्रेसन पिस स्प्रिङअन्तर्गत आफूहरूले आतंककारीका आश्रयस्थल ध्वस्त पारेको’ बताउने गरेको छ । कुर्द फौजले टर्किस फौजको आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।
अमेरिकाको समर्थन रहेको कुर्दले सिरियाली सरकार एवं इस्लामिक स्टेटविरुद्ध लडेको सिरियन डेमोक्र्याटिक फोर्स (एसडीएफ) को मुख्य हिस्सा हो । कुर्दिस फौजले सो क्षेत्रमा हजारौं आइएस लडाकुलाई बन्दी बनाएर राखेका थिए । टर्कीको आक्रमणसँगै ती बन्दीबारे अन्तर्राष्ट्रिय समुदायले चासो प्रकट गरेका छन् ।
अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘टर्कीका पछिल्ला कदमले उब्जेका समस्या अन्त्य गर्न आफूसँग तीन विकल्प रहेका’ बताएका थिए । उनका अनुसार सैन्य हस्तक्षेप, आर्थिक प्रतिबन्ध वा टर्की र कुर्दबीच मध्यस्थता गराउने त्यस्ता विकल्प हुन् । तर वासिङ्टनमा शुक्रबार पत्रकारसँग बोल्दै ट्रम्पले तेस्रो विकल्प उत्तम रहेको बताएका छन् ।

 

विदेश

अस्ट्रेलियामा डढेलोको प्रकोप

- नारायण खड्का
अस्ट्रेलियाको न्युसाउथ वेल्समा फैलिएको डढेलोनजिकै आफ्ना सवारीसाधनमा चढ्न लागेका स्थानीय । तस्बिर ः एपी

(अस्ट्रेलिया) - गर्मी मौसमको सुरुवाती चरणमै अस्ट्रेलिया डढेलोको चपेमा परेको छ । न्युसाउथ वेल्समा सल्किएको डढेलोका कारण अहिलेसम्म २ जनाले ज्यान गुमाएका छन् भने ५० बढी घर जलेर नष्ट भएका छन् ।
अहिले अस्ट्रेलियाको न्युसाउथ वेल्स र क्विन्सल्यान्ड डढेलोले समस्या सिर्जना गरिरहेको छ । करिब एक सातादेखि फैलिएको डढेलोका कारण न्युसाउथ वेल्सको उत्तरी भेगमा एक वृद्ध जोडीले ज्यान गुमाएका छन् । सञ्चारमाध्यमहरूका अनुसार आगलागीमा परी ७७ वर्षीय पुरुष र ६८ वर्षीया एक महिलाको जलेको शरीर घरमा पत्ता लागेको थियो । अहिले पनि करिब दुई दर्जन आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
डढेलो नियन्त्रणमा लिन दुर्गम आगलागी नियन्त्रण सर्भिसका कर्मचारीहरू लागिरहेका भए पनि पूर्ण रूपमा आगो नियन्त्रणमा आउन सकेको छैन । न्युसाउथ वेल्सको उत्तरी क्षेत्रमा मौसम सुरुवातदेखि नै सुरु भएको डढेलोका कारण अहिलेसम्म करिब एक सय बढी घर जलेर नष्ट भइसकेका छन् भने लाखौं मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भइसकेको छ ।
क्विन्सल्यान्डको समेत लोकली भ्यालीलगायतका केही क्षेत्रहरूमा आगलागीका कारण घरहरू जलेर नष्ट भएका छन् भने दर्जनौं स्थानीयबासीहरू प्रभावित बनेका छन् ।
अस्ट्रेलियाको मौसम विभागले केही दिनदेखि चिसो मौसममा परिवर्तन आइरहेकाले आगलागी नियन्त्रणमा लागिरहेका अग्नि नियन्त्रकहरूलाई सहज हुन सक्ने आशा व्यक्त गरेको छ ।
यद्यपि, उक्त मौसम परिवर्तन विभिन्न क्षेत्रहरूमा लागिरहेको आगो पूर्ण नियन्त्रणका लागि उपयुक्त नभएको समाचारहरूमा जनाइएका छन् । आगलागी प्रभावित क्षेत्रमा रहेका दर्जनौं स्थानीयबासीहरू अहिले पनि आफ्नो घरमा सुरक्षित किसिमले फर्कने वातावरण नभएको अधिकारीहरूले जनाएका छन् ।
गर्मी मौसमको सुरुवातसँगै तापक्रम बढेका कारण डढेलोको प्रकोप बढेको यहाँस्थित दुर्गम आगलागी नियन्त्रण कार्यालयका अधिकारीहरूले जनाएका छन् । अस्ट्रेलियाले हरेक वर्ष डढेलोका कारण करोडौं डलर बराबरको आर्थिक क्षति व्यहोर्दै आएको छ भने यसैका कारण दर्जनौं स्थानीयबासीहरू घरवारविहीन हुँदै आएका छन् ।
यति मात्रै नभएर जानीजानी झाडीमा आगो लगाइदिने खराब प्रवृत्तिका कारणसमेत केही स्थानमा डढेलोले दुःख दिने गरेको छ । एक साताअघि न्युसाउथ वेल्समा फैलिएको डढेलोसमेत केही उच्छृंखल व्यक्तिहरूले जानीजानी लगाएको प्रहरीले आशंका गरेको छ । न्युसाउथ वेल्सका आपत्कालीन सेवामन्त्री डेभिड इलिएटले अर्काको जीवनलाई जोखिममा पार्ने जोकोही भए पनि उसले कानुनले कडा कारबाही गर्ने बताएका छन् ।
डढेलोका कारण लागेको आगलागीले रेलमार्गका साथै अन्य अत्यावश्यक सेवाहरूलाई समेत असर पुर्‍याएको छ । यसैगरी आगलागीका कारण असुरक्षित स्थानीवासीलाई सुरक्षित राख्नका लागि सरकारले आपत्कालीन अस्थायी सेल्टरको समेत व्यवस्था गरेको छ ।
दुर्गम आगलागी नियन्त्रण सेवाका उच्च अधिकारीहरूले अबको केही समयमा हुने चिसो मौसममा परिवर्तनले आगलागी नियन्त्रणमा काम गरिरहेका अधिकारीहरूलाई केही मात्रामा राहत दिने र आगलागी नियन्त्रणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

 

विदेश

क्यालिफोर्नियामा अनियन्त्रित

- एएफपी

लस एन्जलस – अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण १ लाख मानिसहरू विस्थापित भएका छन् ।
अधिकारीहरूले सान फर्नान्डो क्षेत्रवरपरका कम्तीमा १३ हजार घरका बासिन्दालाई अन्यत्र सर्न आदेश दिएका छन् । कम्तीमा २० हजार घरमा विद्युत् आपूर्ति बन्द गरिएको छ । राज्यको दक्षिणी भेगमा फैलिएको डढेलोका कारण दर्जनौं संरचना ध्वस्त भएका छन् । अधिकारीहरूले डढेलो नियन्त्रणमा लिन केही दिन लाग्ने जनाएका छन् ।
शनिबारसम्म डढेलो ७ हजार ५ सय एकड क्षेत्रमा फैलिइसकेको बताइएको छ । डढेलोबाट कम्तीमा ३१ संरचनाहरू ध्वस्त भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अधिकारीहरूले डढेलो फैलिएको क्षेत्रका घरहरू खाली गर्ने आदेश दिएका जनाइएको छ ।
ढडेलो फैलिएसँगै आत्तिएका ५० वर्षीय एक व्यक्तिको हृदयाघातबाट मृत्यु भएको आगलागी नियन्त्रण निकायका एक अधिकारीले जनाए । उनका अनुसार आफ्ना छोरासँग फोनमा कुरा गरिरहेकी ८९ वर्षीया महिलाको ज्यान गएको छ । अधिकारीका अनुसार एक अग्नि नियन्त्रक घाइते छन् । डढेलोका कारण अन्य मानवीय क्षतिको विवरण प्राप्त नभइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डढेलो नियन्त्रणका लागि १ हजार अग्नि नियन्त्रक तथा सुरक्षाकर्मी परिचालन गरिएका छन् । उनीहरूले हेलिकप्टरको सहायताले डढेलो नियन्त्रणको प्रयास गरिरहेका जनाइएको छ ।
डढेलो अनियन्त्रित भएसँगै राजमार्गहरू बन्द गरिएको छ । लस एन्जलस क्षेत्रका कम्ती ४० विद्यालय तथा करिब ३० हजार विद्यार्थी अध्ययन गर्ने क्यालिफोर्निया विश्वविद्यालय बन्द गरिएको सीएनएनले जनाएको छ ।

विदेश

फोक्सोको समस्याले १३ सय अस्पतालमा

- कान्तिपुर संवाददाता

(सिन्ह्वा)– अमेरिकामा विद्युतीय चुरोट तथा अन्य धूमपानका कारण १३ सय जना बिरामी भएर अस्पताल भर्ना भएका छन् । बिरामी भएकामध्ये आधाको अति सघन कक्ष (आईसीयू) मा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् । यही समस्या कारण विगत केही महिनायता २६ जनाको मृत्यु भइसकेको अमेरिकाको केन्द्रीय प्रकोप नियन्त्रण तथा उद्धार केन्द्रले जनाएको छ ।
केन्द्रका उपनिर्देशक अन्ने स्चुचान्तका अनुसार बिरामीमध्ये ५ सय ७३ जनालाई विद्युतीय चुरोटका कारण समस्या उत्पन्न भएको हो । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एपडीए) ले गरेको सर्वेक्षणमा दैनिक विद्युतीय चुरोटका प्रयोगकर्ताको संख्या ठूलो रहेको देखिएको छ ।

Page 10
समाचार

शिक्षक बन्न अब विषयगत परीक्षा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– स्थायी शिक्षक बन्न शिक्षक सेवा आयोगले लिने विषयगतसहित दुई सय पूर्णांकको परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको नियमावलीमा १० औं संशोधन गरेर सामान्य र विषयगत गरी दुई सय पूर्णांकको परीक्षा पास गर्नुपर्ने व्यवस्था गरेको हो ।
एक सय पूर्णांकको सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्रै अर्को एक सय पूर्णांकको विषयगत परीक्षामा सहभागी हुन पाइने नियमावलीको संशोधनमा उल्लेख छ । यसअघि स्थायी शिक्षक बन्न एक सय पूर्णांकको परीक्षामात्र लिइन्थ्यो ।
दुई चरणको परीक्षामा सफल उम्मेदवारले मात्र २५ पूर्णांकको अन्तर्वार्तामा सहभागी हुन पाउने शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए । लोकसेवाले स्थायी कर्मचारी नियुक्ति गर्न विभिन्न चरणमा परीक्षा सञ्चालन गर्छ । सक्षम शिक्षक छनोटका लागि सामान्य र विषयगत गरी दुई चरणमा परीक्षा सञ्चालन गर्न लागिएको काप्रीले बताए ।


नियमावली स्वीकृत भइसकेकाले स्थायी शिक्षक छनोटका लागि लिइने आगामी परीक्षा २ सय पूर्णांकको हुने आयोगले जनाएको छ । नियमावली संशोधनमा स्थायी शिक्षकको कार्यसम्पादन मूल्यांकन गर्ने प्रावधान पनि परिवर्तन गरिएको छ । जिल्ला शिक्षा कार्यालयमार्फत जिल्ला शिक्षा अधिकारीहरूले स्थायी शिक्षकको बढुवालगायत आन्तरिक मूल्यांकन गर्दै आएका थिए । संविधानले विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएपछि स्थानीय शिक्षा विभागमार्फत नै शिक्षकको कार्यसम्पादन मूल्यांकन गर्ने प्रबन्ध गरिएको छ । विभागले गरेको आन्तरिक मूल्यांकन शिक्षा विकास तथा समन्वय इकाइ हुँदै आयोगसम्म आइपुग्ने व्यवस्था संशोधित नियमावलीमा गरिएको छ ।
आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षासमेत विषयगत रूपमा सञ्चालन गर्न थालेको छ । यसअघि तहगत रूपमा परीक्षा हुँदै आएको थियो । प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा लिइने परीक्षालाई विशिष्टीकृत गरेर विषयअनुसार लाइसेन्स दिन लागिएको हो ।
लाइसेन्स लिएपछि मात्र स्थायी शिक्षक पदका लागि आयोगको परीक्षामा उम्मेदवार बन्न पाइने प्रावधान छ । अस्थायी र करारमा शिक्षक नियुक्ति गर्दा पनि लाइसेन्स अनिवार्य छ । लाइसेन्सका लागि प्रथम पत्र र दोस्रो पत्रमा गरी एक सय पूर्णांकको परीक्षा सञ्चालन गरिएको हो । पहिलो पत्रमा सम्बन्धित विषय र शिक्षण कला गरेर ६५ पूर्णांकमा परीक्षा सञ्चालन गर्ने पाठ्यक्रम स्वीकृत भएको थियो । दोस्रो पत्रमा भने पेसागत ज्ञानसम्बन्धी ३५ पूर्णांकको परीक्षा लिइएको हो । साढे २ लाख परीक्षार्थीले विषयगत लाइसेन्सका लागि परीक्षा दिएका छन् ।

समाचार

जाडो छल्न झरे क‍र्‍याङकुरुङ

७ हजार ९ सय मिटरसम्मको उचाइबाट उडान भर्ने बथान मौसम बिग्रिए मात्रै नेपालमा बास बस्छन्
- कान्तिपुर संवाददाता
मुस्ताङ हुँदै भारत झर्न भेरी करिडोरमा पसेका क‍र्‍याङकुरुङको बथान ।तस्बिर ः हरिहरसिंह राठौर/कान्तिपुर

(धादिङ) - नीलो आकाशमा कर्‍याङकुरुङको आवाज आयो भने बिहान चिसो हावा चल्न थाल्छ । जाडोयाममा यो चिसो अझ बढ्ने संकेत पनि हो । साइबेरियामा चिसो निकै बढेपछि जाडो छल्न क‍र्‍याङकुरुङ चराका बथान नेपाली आकाश हुँदै भारत जान सुरु गरेका छन् ।
समूहमा उडान भर्ने चराका बथानलाई मौसमी अवरोध नभई बीचमा आपत्कालीन अवतरण जरुरी छैन । बीचमा कतै बास बस्न नरोकिने बथान मौसम बिग्रे मात्रै माथिल्लो मुस्ताङ, कालीगण्डकी र भेरी करिडोरमा रोकिन्छन् । मौसममा सुधारको समय पर्खन्छन् । सारस प्रजातिका यी चरा भारतको राजस्थान र गुजरातको केचन सिमसार क्षेत्रमा जाडो मौसम बिताउन पुग्छन् । गर्मी बढेसँगै फेरि चिसो ठाउँ फिर्छन् ।
नेपाल भएर हुने उडानको चराविद्हरू अध्ययन गरिरहेका छन् । पन्छीविद् मित्र पाण्डे र हिरूलाल डंगौराको अध्ययन टोली असोज १२ देखि माथिल्लो मुस्ताङमा छ । क‍र्‍याङकुरुङका बथानमा संख्या गणनाको एकमहिने काम लिएर टोली त्यहाँ पुगेको हो । यो प्रजातिको संख्या हाल संसारका विभिन्न भूभागमा गरी २ लाख ३० हजारदेखि २ लाख ६१ हजारसम्म रहेको अनुमान छ । मुस्ताङमा दिउँसो १२ बजेदेखि वेगले हावा चल्छ । रूस र मंगोलियाको साइबेरियन क्षेत्रबाट उडेको समूहले हावा चल्न सुरु हुनुअघि नै माथिल्लो मुस्ताङ नाघ्छन् । यसपटक गत मंगलवार बिहान ११ बजे ६ वटा ठूला बथान मुस्ताङको आकाश छिचोल्दै भेरी नदी करिडोर भएर भारत पस्यो । कालीगण्डकी करिडोरमा मौसम बिग्रेपछि माथिल्लो डोल्पा हुँदै कर्‍याङकुरुङका बथान भेरी करिडोर पसेको नेपाल पन्छी संरक्षण संघका कार्यक्रम निर्देशक कृष्ण भुसालले बताए ।
‘साइबेरियाबाट क‍र्‍याङकुरुङ भित्रिने मुख्य आकाश मार्ग कालीगण्डकी नै हो । त्यसपछि ठूलोभेरी र कर्णाली नदी हो,’ अध्ययनकर्ता मित्र पाण्डे भन्छन्, ‘मंगोलिया र चीनको तिब्बत हुँदै माथिल्लो मुस्ताङ र कालीगण्डकी उपत्यकामा बथानमा भित्रिने क‍र्‍याङकुरुङ मौसम बिग्रेको बेला मात्रै नेपालका नदी किनारहरूमा बास बस्छन् र अर्को दिन इण्डियाको गुजरात र राजस्थानतिर लाग्छन् ।’ योपल्ट बथानले नेपाली भूभागमा बास गरेका छैनन् । अध्ययनअनुसार तिब्बतबाट बिहान उडेका क‍र्‍याङकुरुङ दिउँसो १२ बजेतिर मुस्ताङ आइपुग्छन् । अनि सरासर भारततिर जान्छन् । ‘संघले २०७३ देखि गरिरहेको ५ वर्षे अध्ययन पूरा हुने चरणमा छ,’ संघका अधिकृत भुसालले भने, ‘हाम्रो रैथाने चरा प्रजातिमा नपरे पनि यसको अध्यनन हिउँदमा विचरण गर्ने अरू प्रजातिका लागि पनि उपयोगी छ ।’ जाडो सुरु हुनुअघि मंगोलियादेखि उड्न सुरु गर्ने क‍र्‍याङकुरुङ चीन, तिब्बत, माथिल्लो मुस्ताङ, धौलागिरि र नीलगिरि चुचुरो नाघ्दै राजस्थानको किचनगाउँ र गुजरातको कचन जाने गरेका छन् । भारतका किसान क‍र्‍याङकुरुङलाई औधि माया गर्छन् । सेप्टेम्बर–अक्टोबरमा जाडो छल्न बसाइँ सर्ने चराका यी प्रजाति काजस्कितान र अफगानिस्तान हुँदै अप्रिल र मेमा फेरि मंगोलिया र रूसतिर फर्कन्छन् । फर्कने बेलाको बथान सानो सानो संख्याको हुन्छ । क‍र्‍याङकुरुङ अफ्रिका, टर्कीको एटलास माउन्टेन, काजकिस्तान, चीन र रूसमा पाइन्छ । अग्लो खुट्टा र लामो घाँटी हुने सारस प्रजातिका यी चरा मूलतः सिमसारमा आसपास बस्छन् । विश्वमा पाइने १५ प्रजातिका सारसमध्ये नेपालमा चार प्रजाति देख्न पाइन्छन् । कालो टाउके र सारस क्रेन नेपालमै गुँड लगाउने भए पनि लक्ष्मण सारस र कर्‍याङकुरुङलाई उडेको मात्रै देख्न पाइन्छ ।
पशुपन्छीमाथिको संकटको अवस्था जनाउने आईयूसीएनको ‘रेड लिस्ट’ मा संवेदनशील प्रजातिमा राखिएका कालो टाउके सारस र सारस विश्वमै दुर्लभ पन्छी हुन् । सारस क्रेन नेपालको पश्चिम तराईमा वर्षैभरि पाइने रैथाने हो भने कालो टाउके सारस आक्कलझुक्कल देखिनेमा पर्छ । उक्त चराको अध्ययनले हुम्लाको लिमी उपत्यकामा प्रजनन् गरेको पाइएको उल्लेख गरेको छ । लक्ष्मण र क‍र्‍याङकुरुङ सारस हिउँदे आगन्तुक बटुवा पन्छी हुन्, जो उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा बर्सेनि नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत र श्रीलंकातिर जाने गर्दछन् । नेपाल पन्छी संरक्षण संघको चार वर्षको मुस्ताङ अध्ययनअनुसार बर्सेनि करिब २० हजार क‍र्‍याङकुरुङ कालीगण्डकीको आकाश हुँदै यात्रा गर्छन् । सिमसार राम्रो रहेको सूचक प्रजाति सारसले सर्पहरूको संख्या नियन्त्रण गर्नुका साथै बालीनालीका कीरा र अन्य साना जीवहरूलाई खाइदिएर किसानलाई सघाएका हुन्छन् । सारसले बाघ र चितुवाजस्ता जनावरहरू नजिक आउन लागे कराएर जानकारी दिने गर्छन् ।
प्रजनन् समयमा देखिने सारसको विशेष आकर्षक नृत्य र बसाइँसराइका क्रममा आकाशमा देखिने सुन्दर ताँती अत्यन्तै मनमोहक हुन्छ । धेरै उचाइबाट उड्ने सारसका प्रजातिमध्ये फिरन्तेहरू अरू चराका तुलनामा सर्वाधिक माथि उड्न सक्छन् । ७ हजार ९ सय मिटरसम्मको उचाइमा उडेको अभिलेख छन् ।

 

समाचार

नौ दिनसम्म सुत्केरी अछूत

- मेनुका ढुंगाना

(अछाम) - साँफेबगर नगरपालिका ११ देवीस्थानकी कल्पना दास २१ वर्षकी भइन् । शनिबार उनले जिल्ला अस्पताल मंगलसेनमा पहिलो सन्तान छोरा जन्माइन् । श्रीमान्, सासूससुरा कामका लागि भारत गएपछि उनी सुत्केरी हुन माइतीघर मंगलसेन पुगेकी हुन् । कल्पनाले सुत्केरीपछिको स्याहार, माया र बच्चाको रेखदेख गरिदिने कोही भेटिनन् । सुत्केरीलाई छोए अपवित्र भइने भन्दै उनकी आमा राधाले समेत उनलाई छोइनन् । ‘सुत्केरीलाई छोए मलाई सन्चो हुँदैन । देउता पनि रिसाउँछन् । अब नौ दिन भएपछि मात्रै छोरीलाई छुन मिल्छ । नातिको मुख पनि त्यही दिन हेर्छु,’ राधाले भनिन् ।
जिल्ला अस्पतालमै पुगेका कल्पनाका आफन्तले पनि उनलाई छुन मानेनन् । ‘आमाले पनि मलाई सन्चो हुँदैन भन्नुभयो । झन् अरूले छुने कुरै भएन । अन्तिममा बज्यै नाता पर्नेले छुनुभयो,’ कल्पनाले सुनाइन्, ‘सुत्केरी व्यथाभन्दा धेरै त आफूलाई छुने मान्छे नभेट्दा पीडा भयो ।’
कमलबजार नगरपालिका ५ की मैना भुलले पनि सुत्केरी भइसकेपछि छुने मान्छे पाइनन् । जसोतसो कमलबजार प्रथामिक स्वास्थ्य केन्द्र पुर्‍याएर शुक्रबार छोरी जन्म दिएकी उनले घरसम्म बच्चा बोकिदिने कोही पाइनन् । ‘सुत्केरी भएको नौ दिनसम्म त अछुतो ठान्छन् । सानो गोठमा आफैं पकाएर खानुपर्छ । यो बेला गह्रौं सामान उठाउन नमिल्ने भए पनि अरू कसैले सहयोग गर्दैनन्,’ मैनाले भनिन्, ‘मेरा त पहिले नै दुई वटी छोरी थिए । फेरि पनि छोरी नै जन्मिन् । मैले परिवारबाट के माया पाउँथेँ र ?’ उनका अनुसार अझै पनि सुत्केरी महिलालाई गरिने विभेद हटेको छैन । छोरा भए एकनासको र छोरी भए अर्को खालको व्यवहार गर्ने चलन अझै रहेको उनको भनाइ छ ।
यहाँका विपन्न र दलित समुदायका महिलालाई गर्भवती भएपछि भारी सामान उठाउनु हुँदैन, अस्पताल गएर समयसमयमा चिकित्सकलाई जाँच गराउनुपर्छ भन्ने ज्ञान छ तर परिवारबाटै सहयोग नहुने पीडित महिला बताउँछन् । गर्भवती भएपछि के गर्न हुने के नहुने धेरै कुरा थाहा पाउन थाले पनि व्यवहारमा लागू नभएको बयालाकी एक गर्भवतीले बताइन् । ‘मैले घरैमा चारवटा बच्चा जन्माएँ,’ उनले भनिन्, ‘घरका सदस्यले चासो नलिएपछि आफ्नो मात्र जानकारीले खासै काम नलाग्ने रहेछ ।’ सरकारले घोषणा गरेको सुरक्षित मातृत्व कार्यक्रम अछाममा प्रभावकारी नभएको उनको भनाइ छ । ‘गर्भवती भएका बेला, सुत्केरी हुँदा र सुत्केरी पश्चात् ६ हप्ताभित्र गरिने ‘विशेष सेवा’ नै सुरक्षित मातृत्व सेवा हो भनेर सिकियो, बुझियो पनि । अन्तमा आफैंलाई समस्या पर्‍यो,’ उनले भनिन् । उनका अनुसार यही सेवा नपाएका कारण आमा र बच्चाले ज्यान गुमाउने क्रम रोकिएको छैन ।
जिल्ला अस्पताल अछामका अनुसार घरमै सुत्केरी हुने महिलाको संख्या २५ प्रतिशत छ । जिल्लाभरि ६५ वटा बर्थिङ सेन्टर भए पनि अधिकांश ग्रामीण महिला सुविधा लिनबाट वञ्चित छन् । जिल्लाभरका स्वास्थ्य संस्थाले संकलन गरेको तथ्यांकले सुरक्षित सुत्केरी गराउनेमा बढी सहरबजारका महिला रहेको देखाएको छ ।
ग्रामीण भेगका अधिकांश महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य संस्थासम्म पुगेर बच्चा जन्माउने महिला पनि छुवाछुतकै कारण असुरक्षित रहेको जिल्ला अस्पतालकी कार्यालय सहयोगी देबु ढुंगानाले बताइन् । ‘सुत्केरी र गर्भवतीकै हेरचाह र स्याहारका लागि हामीलाई खटाइएको छ । अस्पतालमै सुत्केरीलाई नछुने धेरै आउँछन् । कतिपय महिला त अप्ठ्यारामा समेत परेका छन्,’ उनले भनिन् ।

समाचार

११५ दिनमा मनसुन बाहिरियो

- कान्तिपुर संवाददाता
जिल्ला अस्पतालमा जन्मिएको बच्चालाई बाहिरबाट हेर्दै आफन्त । तस्बिर ः मेनुका/कान्तिपुर

काठमाडौं (कास)– यस वर्षको मनसुन औसतभन्दा १९ दिन ढिलो गरी शनिबारबाट बाहिरिएको छ । यस वर्ष नेपालमा मनसुन ११५ दिनसम्म रह्यो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष बुलेटिन निकालेर औसतमा असोज पहिलो साता (सेप्टेम्बर २३) मा बाहिरिने भए पनि केही वर्षदेखि ढिलो गरी मनसुन बाहिरिने गरेको उल्लेख गरेको छ । यो वर्ष औसतभन्दा १० दिन ढिला गरी असार ५ मा (जुन २०) मनसुन प्रवेश भएको थियो । औसतमा पूर्वी नेपालमा १० जुनमा प्रवेश गरेको मनसुन काठमाडौंसम्म १२ जुनसम्ममा आइपुग्ने गरेको छ । यसपटक भने ढिला गरी मनसुन काठमाडौं आइपुगेको थियो । महाशाखाको तथ्यांकअनुसार नेपालमा सन् १९७९ मा ७३ दिनमात्र मनसुनी वर्षा भएको रेकर्ड छ । सन् २००८ मा सबभन्दा बढी १३० दिन मनसुन सक्रिय थियो । सन् १९९६ मा औसत समयभन्दा करिब दुई साताअघि मे ३१ मै मनसुन प्रवेश भएको थियो भने सन् १९८२ मा सबभन्दा ढिलो करिब तीन साता ढिलो गरी जुन २७ मा प्रवेश भएको महाशाखाले उल्लेख गरेको छ । सन् १९९५ मा औसत समयभन्दा तीन साताअघि सेप्टेम्बर २ मै मनसुन बाहिरिएको थियो भने सन् २०१३ मा औसतभन्दा करिब एक महिनापछि अक्टोबर १९ मा बाहिरिएको थियो ।

समाचार

नरभक्षी चितुवा मार्न निर्देशन

- कान्तिपुर संवाददाता

तनहुँ (कास)– पटकपटक बालबालिकामाथि आक्रमण गरी ज्यानैसमेत लिएपछि जिल्ला प्रशासन कार्यालयले नरभक्षी चितुवा मार्न निर्देशन दिएको छ । भानु नगरपालिका–१, २, ३ र ४ वडामा चितुवाले आक्रमण गरी डेढ वर्षको अवधिमा ५ बालबालिकाको ज्यान लिइसकेको छ । पछिल्लोपटक बडादसैंको दिन एक बालकको चितुवा आक्रमणमा मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले स्थानीय प्रशासन ऐन ०२८ को दफा ९(४) बमोजिम हिंस्रक नरभक्षी चितुवालाई मारेर डिभिजन वन कार्यालयमा बुझाइदिन जिल्ला प्रहरीलाई पत्राचार गरेका हुन् । ०७४ फागुन १ मा भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, ०७५ कात्तिक २९ मा जोखानेकी ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १५ मा ढल्केबरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ मा भकुण्डेथोककी ९ वर्षीया पुष्पा अधिकारी र असोज २१ मा जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँको मृत्यु भएको छ । नगरपालिका क्षेत्रमा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएपछि नियन्त्रणका लागि नगरपालिकाले पनि आवश्यक गतिविधि अगाडि बढाउन थालेको छ । नगर प्रमुख उदयराज गौलीको अध्यक्षतामा बसेको बैठकले वडाध्यक्षको नेतृत्वमा प्रभावित क्षेत्रका घर तथा बाटोघाटो वरपरका झाडी सरसफाइलगायत कार्य गर्ने निर्णय गरेको छ । डिभिजन वन प्रमुख केदार बरालले भानु नगरपालिकाका बस्ती जंगलसँग जोडिएकाले जोखिम बढेको बताए ।

Page 11
अर्थ वाणिज्य

विदेशी लगानी पाँच गुणा बढ्यो

- यज्ञ बञ्जाडे

(काठमाडौं) - चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा १ अर्ब ४४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा यो करिब पाँच गुणा (३ सय ८७ प्रतिशत) ले बढी हो । ०७५ को साउनमा २९ करोड ५७ लाख रुपैयाँ भित्रिएको थियो । गत वर्षका सबै महिना उच्च दरले घटेको विदेशी लगानी यो वर्षको सुरुमै धेरैले बढेको हो । सो अवधिमा जलविद्युत् आयोजनामा केही लगानी भित्रिएपछि समग्र एफडीआई बढेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको पहिलो महिनामा विदेशी लगानी करिब साढे ९३ प्रतिशतले घटेको थियो । ‘गत साउनमा पुँजीगत ट्रान्सफर १ अर्ब ३ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४४ करोड रुपैयाँ छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ७० करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी २९ करोड ५७ लाख रुपैयाँ थियो ।’
गत वर्षमा नेपालमा कुल १३ अर्ब ६ करोड रुपैयाँ विदेशी लगानी आएको थियो । आर्थिक वर्ष ०७४/७५ मा यस्तो लगानी १७ अर्ब ५१ करोड रुपैयाँ थियो । मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको समयमा पनि गत वर्षभर ठूलो मात्रामा लगानी घटेको थियो । यो वर्ष परिस्थिति बदलिएको छ । ‘अहिले मुलुकमा लगानी वातावरण सुध्रिदो अवस्थामा छ । अब विस्तार विदेशी लगानी बढ्छ,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले भने, ‘यो राम्रो संकेत हो ।’ यो वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये अधिकांश जलविद्युत्, पर्यटन र सिमेन्ट उद्योगमा आएको छ ।
विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न सरकारले उद्योग विभागमा छुट्टै एकल विन्दु सेवा सुरु गरेको छ । लगानी सम्मेलनमार्फत अन्तर्राष्ट्रिय जगत्लाई लगानीका लागि प्रोत्साहन गरिएको छ । उल्लिखित कारणले विदेशी लगानीमा सुधार आएको राष्ट्र बैंकले जनाएको छ । नेपालमा खासगरी जलविद्युत, पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्यमा विदेशी लगानीको ठूलो सम्भावना छ । ती क्षेत्रमा लगानी बढाउनका लागि एकद्वार लगानी नीति र लगानी परिचालन तथा व्यवस्थापनसम्बन्धी व्यवस्थामा सरलीकरण र प्रभावकारी बनाउनुपर्ने, कर प्रशासनलाई सुधार गर्नुपर्ने उनीहरूको सुझाव छ ।
विदेशी लगानी बढेकाले भुक्तानी सन्तुलनमा पनि सुधार देखिएको छ । राष्ट्र बैंकका अनुसार गत साउनमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४ अर्ब ७७ करोड रुपैयाँले घाटामा थियो ।

 

अर्थ वाणिज्य

छैन व्यापार घाटा कम गर्ने एजेन्डा

चिनियाँ राष्ट्रपतिको भ्रमण
- राजु चौधरी

(काठमाडौ) - चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण दर्जन एजेन्डाहरू समावेश भए पनि व्यापार घाटा कम गर्ने विषय भने समावेश नहुने भएको छ । नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो मुलुकमा चीन पर्छ । तर, व्यापार सहजीकरण/व्यापार न्यूनीकरणबारे कुनै एजेन्डा नै छैन । ‘सामूहिक रूपमा परराष्ट्र मन्त्रालयले कुरा राख्छ । कनेक्टिभिटीको कुरा उठ्छ,’ उद्योग वााणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले भने, ‘तर, यकिन जानकारी छैन ।’
चीनसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २ खर्ब ५ अर्ब ५१ करोड रुपैयाँको आयात भएको छ । निर्यात भने २ अर्ब १० करोड रुपैयाँ मात्रै भएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पनि व्यापार घाटा ४० अर्ब २७ करोड रुपैयाँ पुगेको छ । २०७६/७७ को पहिलो दुई महिनामा ४० अर्ब ५६ करोड रुपैयाँको आयात भएको छ भने निर्यात २९ करोड रुपैयाँको मात्रै छ । यी दुई तथ्यांक उदाहरण मात्रै हुन् । भन्सार विभागको तथ्यांकअनुसार ५ वर्षको तथ्यांक हेर्दा चीन र नेपालबीचको आयात/निर्यातको खाडल फराकिलो बन्दै गएको छ ।
विज्ञका अनुसार उत्पादकत्व र मागअनुसार गुणस्तर दिन नसक्दा निर्यात हुन सकेन । यीबाहेक व्यापार लागत र गैरभन्सार अवरोध पनि एउटा कारण रहेको विज्ञहरू बताउँछन् । ‘गुणस्तरीय उत्पादन दिन सकेका छैनौं । चीनसँगको व्यापारमा लागत खर्च पनि बढी छ,’ अर्थविद् पोषराज पाण्डेले भने, ‘त्यो भनेको कनेक्टिभिटी छैन । व्यापार सहजीकरण भएको छैन । गैरभन्सार अवरोधको पनि समस्या छ ।’ हाल चीनले करिब ८ हजार ३ सय वस्तुलाई शून्य भन्सारमा नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवेशको सुविधा दिएको छ । शून्य भन्सार सुविधा उपभोग गर्ने गरी चीन निर्यात गर्ने उत्पादनै नेपालसँग छैन । भएकाको निर्यात पनि नगण्य नै छ । तर आफ्ना वस्तुहरूको उत्पादन र त्यसअनुसारको वस्तुहरूको सूची हेरफेरको एजेन्डा बन्नुपर्ने अर्थविद् पाण्डेले बताए ।
‘केही वस्तुमा भन्साररहित सुविधा दिए पनि गैरभन्सार अवरोध छ । अहिले ती एजेन्डाका रूपमा उठाउनुपर्छ,’ उनले भने । सीमामा ‘फ्री इकोनोमिक जोन’ बनाउनुपर्ने उनले बताए । ‘त्यो हुँदा चीनको भ्यालुचेनमा पनि नेपाल सहभागी हुन सक्थ्यो,’ उनले भने । उनका अनुसार निर्यातजन्य डेढ सय वस्तुमा सुविधा दिए मात्रै पुग्छ । तर, दीर्घकालीन रूपमा अर्थतन्त्रलाई प्रभाव पार्ने, अगाडि बढाउने, व्यापार, लगानी र उत्पादकत्व बढाउने सरकारी एजेन्डा नभएको बताए । यीबाहेक कृषि, आईटी, पूर्वाधरमा पनि विशेष जोड हुनुपर्ने जानकारहरू बताउँछन् । हाल कनेक्टिभिटीको सन्दर्भमा ठूला/ठूला कुरा भए पनि अध्ययन/विश्लेषण हुन सकेको छैन । ‘हवाई मार्ग, रेल, रोड पनि हुन सक्छ । त्यो अध्ययन नगरी रेलको मात्रै कुरा भइरहेको छ,’ पाण्डेले भने । हाल नेपालबाट मुख्यतः पस्मिना, गलौंचा, हस्तकला, छाला, चिया तथा चाउचाउ, अगरबत्ती निर्यात हुन्छ । मह, वनस्पति बीउ, कफी, फेल्टलगायतका वस्तु निर्यात हुन्छ । ती वस्तुहरू मुख्यतः तिब्बतमा निर्यात हुने पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले बताए । निर्यात बढाउन पहिलो प्राथमिकता उत्पादन नै रहेको बताए । ‘उत्पादन भए त्यसपश्चात् मात्रै निकासी हुन सक्छ,’ ओझाले भने, ‘त्यसका लागि चिनियाँ लगानीमा जोड दिनुपर्छ ।’ उत्पादन र निर्यात बढाउन विशेष आर्थिक क्षेत्र निर्माण गर्न जरुरी रहेको ओझाले बताए ।
व्यापारसँगै अन्तरसम्बन्धी कनेक्टिभिटीका एजेन्डा भने सी भ्रमणमा परेको छ । २०७५ असार पहिलो साता भएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको जगमा गत भदौ २२ गते नेपालले तेस्रो देशसँगको व्यापारका लागि चीनका बन्दरगाह प्रयोग गर्ने समझदारी बनेको थियो । यही समझदारीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका बेला नेपाललाई ४ वटा सामुद्रिक र ३ वटा सुक्खा बन्दरगाह प्रयोग गर्ने नेपाल–चीनबीच पारवहन प्रोटोकलमा हस्ताक्षर भयो । पारवहन प्रोटोकलअनुसार चीनका नेपालले चीनका थ्येनचिन, लियानयुनकाङ च्याङ्सु, क्वाङतोङ प्रान्तको चानचियाङ र सनचन ४ वटा सामुद्रिक बन्दरगाह प्रयोग गर्न पाउनेछन् । सिगात्से, ल्हासा र लान्चौ ३ सुक्खा बन्दगाह प्रयोग पनि गर्न पाइने छ । सामुद्रिक र सुक्खा बन्दरगाहसम्म यातायात आवतजावत गर्ने नेपालतर्फका नाकाको पूर्वाधार कमजोर रहेकाले यो सुविधासमेत प्रयोग हुन सकेको छैन । हाल तातोपानी र रसुवागढीबाट मात्रै यातायात सञ्चालन गर्न सकिन्छ । तर, सडक बाटाको अवस्था राम्रो छैन । चीनबाट माछामासु, कच्चा प्रदार्थ, कस्मेटिक, चकलेट, फलफूल, फूल, तरकारी, इलेक्ट्रोनिक्स, फर्निचर, लत्ताकपडा तथा जुत्ता, मेसिनरीलगायत वस्तुहरू मात्रै आयात भइरहेका छन् ।

अर्थ वाणिज्य

घाटा कम गर्न भारत–चीनबीच संयन्त्र

- कान्तिपुर संवाददाता

(काठमाडौं) - व्यापार घाटा कम गर्ने उद्देश्यसहित चीन र भारतले उच्चस्तरीय संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् । चिनियाँ राष्ट्रपति सी चीनफिङको भारत भ्रमणका क्रममा यस्तो सहमति जुटेको हो । चेन्नईमा चिनियाँ राष्ट्रपति सी चिङफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटमा सहमति जुटेको जनाइएको छ । दुई नेताबीचको भेटवार्तापछि भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा व्यापार घाटा कम गर्न उच्चस्तरीय संयन्त्र स्थापनाका लागि सहमति जुटेको र यसले दुई देशबीच व्यापार र वाणिज्य सम्बन्धलाई सुदृढ बनाउने उल्लेख गरिएको छ ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको १७ बुँदे विज्ञप्तिको बुँदा नम्बर १५ मा भारत र चीनबीच उच्चस्तरीय संयन्त्र स्थापनाका लागि भएको सहमतिको विषयमा उल्लेख गरिएको छ । ‘गहिरो आर्थिक समन्वय र विकास साझेदारीका लागि दुई नेताले उच्चस्तरीय आर्थिक तथा व्यापार संवाद संयन्त्र स्थापनाको निर्णय गरेका छन्,’ भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दुई देशबीच व्यापार र वाणिज्य सम्बन्धको बढोत्तरी र व्यापार घाटा कम गर्ने उद्देश्यसहित संयन्त्र स्थापनाका लागि सहमति जुटेको विज्ञप्तिमा जनाइएको छ । भारतीय अर्थमन्त्री र चिनियाँ उपराष्ट्रपतिले यो संयन्त्रको नेतृत्व गर्नेछन् । उत्पादन साझेदारी विकास गर्दै एकअर्काको लगानी बढाउन पनि दुई नेताले सहमति जनाएका छन् । यो संयन्त्रको पहिलो बैठकमा लगानीका क्षेत्रहरू पहिचान गरी छलफल गर्न सहमति जुटेको छ ।
सन् २०१७ मा चीनको उहानमा भएको दुई नेताबीचको एकल वार्तापछि पहिलो पटक सी र मोदीले यस्तो खाले अनौपचारिक भेट गरेका हुन् । दुई नेताबीच शुक्रबार र शनिबार गरी करिब साढे ५ घण्टा छलफल भएको थियो ।

चिनियाँ राष्ट्रपति सी भारत भ्रमणमा आउनुअघि नै भारत र चीनबीच १ सय २० वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । भारतीय समाचार संस्था दी हिन्दुको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार चीन र भारतबीचको व्यापार घाटा कम गर्ने उद्देश्यसहित यी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । भारतमा उत्पादित चिनी, रसायन, माछा, प्लास्टिक, औषधि, विषादीजस्ता वस्तुहरू चीन पठाउनका लागि सहयोग गर्ने उद्देश्यसहित समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
एकअर्काको लागि ठूलो बजार भए पनि चीनसँगको व्यापारमा भारतले ठूलो घाटा व्यहोरिरहेको छ । यो अंग्रेजी वर्षको ८ महिनाको तथ्यांकअनुसार भारतले चीनसँगको व्यापारमा ३७.९ अर्ब डलर घाटा व्यहोरेको छ । दी हिन्दुले प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०१८–२०१९ मा चीनसँगको व्यापारमा भारतले ५३ अर्ब डलर घाटा व्यहोरेको छ । जुन त्यसअघिको वर्षमा ६० अर्ब डलर थियो । चीनसँगको व्यापार घाटा भारतको कुल व्यापार घाटाको एक तिहाइ हो । सन् २०१८ मा चीन र व्यापारले करिब ९६ अर्ब डलर बराबरको व्यापार गरेका थिए । दुई देशबीचको व्यापार वार्षिक औसत १३.२ प्रतिशतका दरले बढिरहेको छ । सन् २०१७ को अन्त्यसम्मको तथ्यांकअनुसार भारतमा चीनले करिब ५ अर्ब डलर लगानी गरेको छ ।
दिल्लीस्थित चिनियाँ काउन्सिलरको तथ्यांकअनुसार एक हजार बढी चिनियाँ कम्पनीले भारतमा दुई लाख रोजगारी सिर्जना गरेका छन् । चार दर्जनभन्दा बढी चिनियाँ उद्यमीले भारतमा ३४ वटा क्षेत्रमा व्यापार प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालनका लागि समझदारी गरेका छन् । चीनको वाणिज्य मन्त्रालयको उपमहानिर्देशक लिऊ चाङ्ग्युलाई उद्धृत गर्दै दी हिन्दुले प्रकाशित गरेको समाचारअनुसार चिनियाँ उद्यमीले भारतबाट १० करोड डलर बराबरको सामान लिने गरी सम्झौता गरिसकेका छन् ।

 

अर्थ वाणिज्य

चिनियाँ पर्यटक बढ्ने आस

लेकसाइडमा चिनियाँले सञ्चालन गरेका १७ होटल तथा रेस्टुरेन्ट छन् । केहीले कृषिमा लगानी गरेका छन् । यहाँ व्यवसायी गरिरहेका चिनियाँ तथा नेपाली व्यवसायीले सीको भ्रमणपछि पर्यटन आगमनमा वृद्धि हुने अनुमान गरेका छन् ।
- दीपक परियार
पोखराको गगनगौंडा फाँटमा चिनियाँ पर्यटक । फाइल तस्बिर

(पोखरा) - गतवर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा मुक्तिनाथ पुगे । मोदी मुक्तिनाथ पुगेको प्रभाव पर्यटकीय सिजनमा देखियो । पोखरा हुँदै मुक्तिनाथ पुग्ने भारतीय पर्यटक ह्वात्तै बढे । राष्ट्रपति सी चिनफिङको नेपाल आगमनसँगै चिनियाँ पर्यटक बढ्ने आशा पर्यटकीय नगरी पोखराका व्यवसायीले गरेका छन् ।
पर्यटन बोर्डको तथ्यांकअनुसार नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्दो छ । सन् २०१४ मा एक लाख २४ हजार चिनियाँ पर्यटन नेपाल भित्रिए । ०७२ को भूकम्पपछि भने संख्या ह्वात्तै घट्यो । सन् २०१५ मा ६५ हजार चिनियाँ पर्यटक नेपाल आए । सन् २०१८ मा १ लाख ५४ हजार चिनियाँले नेपाल घुमे । चिनियाँ पर्यटक वार्षिक रूपमा वृद्धि भए पनि यो संख्या सन्तोषजनक नभएको व्यवसायी बताउँछन् ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन मोदीको जस्तै प्रभाव सीको भ्रमणपछि पर्यटन क्षेत्रमा देखिने आशा गर्छन् । ‘पर्यटक आगमनको हिसाबले केही उपलब्धि हुने आशा छ,’ उनी भन्छन्, ‘पोखराको पर्यटनमा ठूलो लगानी पनि भित्रिए राम्रो ।’ चार/पाँच तारेहोटल चलाउने जग्गा खोज्न चिनियाँ व्यवसायी बेलाबेला पोखरा आउने गरेको उनले सुनाए ।
चिनियाँले स–साना लगानी भने गरेका छन् । लेकसाइडमा चिनियाँले सञ्चालन गरेका १७ होटल तथा रेस्टुरेन्ट छन् । केहीले कृषिमा लगानी गरेका छन् । होटल तथा रेस्टुरेन्टमा झन्डै ५० करोड रुपैयाँ लगानी भएको होटल संघ अध्यक्ष तुलाचन बताउँछन् । रोजगारीका अवसर सिर्जना गर्न, सरकारले करबाट आम्दानी गर्न भने ठूला पूर्वाधारमा लगानी भित्र्याउनुपर्ने उनको तर्क छ ।
पोखरामा व्यवसाय गर्ने चिनियाँ संगठित भएर ओभरसिज चाइनिज एसोसिएसन नामक संस्था नै गठन गरेका छन् । संस्थाका अध्यक्ष चान जियान सङ राष्ट्रपति सीको आगमनले नेपालको पर्यटन विकासमा फड्को मार्ने बताउँछन् । राष्ट्रपतिको आगमनपछि चिनियाँले नेपालबारे अझै धेरै जानकारी पाउने भएकोले पर्यटक बढ्ने उनको अनुमान छ । ‘केरुङ नाका सजिलो हुने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिनेबित्तिकै चिनियाँ पर्यटक अत्यधिक बढ्ने देखिन्छ,’ उनी भन्छन्, ‘सीका अरू योजना पनि हुन सक्छन् ।’ त्यसले झन् पर्यटक बढ्न सक्ने उनको अनुमान छ । लेकसाइडमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका चिनियाँ नागरिक लिआओ जिबिङ पर्यटक आकर्षित गर्न काठमाडौंबाट पोखरा र पोखराबाट लुम्बिनी पुग्ने बाटो स्तरीय बनाउनुपर्ने बताउँछन् । ‘यहाँको दृश्य, हावापानी यति राम्रो छ, यहाँका मानिस पनि मिलनसार छन्,’ उनी भन्छन्, ‘यति नजिकैको छिमेकीबाट पर्यटक आउन लालायित छन् ।’
उनका अनुसार रेस्टुरेन्टमा चाहिने धेरै सामान चीनबाटै आउँछ । चिनियाँ परिकारलाई चाहिने मसला, खाद्य पदार्थ चीनबाट आउँछ । साग, चामल, तेल, माछा, मासु यहींका खपत हुन्छन् । रेस्टुरेन्टमा आउने ग्राहक ७० प्रतिशत चिनियाँ नै हुन्छन् । १५ प्रतिशत नेपाली र १५ प्रतिशत अन्य मुलुकका पर्यटक चिनियाँ रेस्टुरेन्ट छिर्छन् । पोखरा आउने चिनियाँ पर्यटकले एक हप्ता बिताउँछन् । ‘धेरै चिनियाँले अंग्रेजी नबुझ्ने भएकाले पनि चिनियाँ रेस्टुरेन्ट खोज्दै आउँछन्,’ उनले भने, ‘भाषाकै कारण अरू रेस्टुरेन्टलाई समस्या हुने गरेको छ ।’ पोखराका होटल, रेस्टुरेन्टमा चिनियाँ भाषा बुझ्ने कर्मचारी नहुँदा पर्यटकले झन्झट मान्ने गरेको उनले सुनाए । चिनियाँ भाषा बोल्ने ट्रेकिङ गाइडको पनि कमी भएको उनले बताए । पर्यटन व्यापार विस्तारकै लागि पोखरा र चीनका विभिन्न सहरबीच भगिनी सम्बन्ध पनि कायम भएका छन् । अन्तर्राष्ट्रिय सहरका रूपमा स्थापित भइसकेका सहरबाट विभिन्न विकास निर्माण तथा आर्थिक, भौतिक सहयोग भित्र्याउने उद्देश्यसाथ सम्बन्ध कायम गरिएको हो । अहिले पोखरा महानगरपालिका र चीनको कुनमिङ, गोन्जाओ र तिब्बतस्थित लिन्जी सहरबीच भगिनी सम्बन्ध भएर सहयोगसमेत आइसकेका छन् । पहिलोपल्ट लिन्जीसँग २०६४ मा सम्बन्ध गाँसिएको थियो ।


चिनियाँले धानेको साहसिक पर्यटन
सन् २०१३ मा नेपालमा छायांकन भएको चिनियाँ फिल्म ‘अप इन द वाइन्ड’ प्रदर्शनमा आयो । सांघाईमा काम गर्ने महिला पत्रकार नेपाल यात्राबारे लेख्न काठमाडौं, चितवन र पोखरा घुमेको कथा फिल्ममा छ । काठमाडौंका पुरातात्त्विक स्थल, चितवनको जंगल सफारी र पोखराका साहसिक गतिविधि र सुन्दर दृश्य फिल्ममा देखाइएको छ । तेङ हुआताओ त्भलन ज्गबतबय को निर्देशनमा बनेको फिल्ममा नि नि र जिङ बोरान मुख्य भूमिकामा छन् ।
उक्त फिल्ममा देखाइएको लोभलाग्दा दृश्यले चिनियाँ पर्यटक पोखरा भित्र्याउन सहयोग पुगेको व्यवसायी बताउँछन् । फिल्ममा पोखराको सराङकोटबाट गरिने प्याराग्लाइडिङसमेत समावेश भएपछि साहसिक पर्यटनले थप फड्को मारेको व्यवसायी वसन्त दवाडी बताउँछन् । उनका अनुसार हाल प्याराग्लाइडिङ गर्ने पर्यटकमध्ये ५० प्रतिशत चिनियाँ छन् । ‘प्याराग्लाइडिङ धानेकै चिनियाँ पर्यटकले हो,’ नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिवसमेत रहेका उनी भन्छन्, ‘पोखरा आउनेमध्ये ८० प्रतिशत चिनियाँले प्याराग्लाइडिङ गर्छन् ।’ प्याराग्लाइडिङ बाहेक अल्ट्रालाइट, बन्जिजम्प, जिपलाइन, र्‍याफ्टिङमा पनि चिनियाँ पर्यटकको योगदान रहेको उनी सुनाउँछन् । पछिल्लो समय पदयात्रा गर्ने चिनियाँ पर्यटकको संख्या बढिरहेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पोखरा च्याप्टरका अध्यक्ष हरि भुजेल बताउँछन् ।

Page 12
अर्थ वाणिज्य

किसानका बारीमै बिचौलिया

- चन्द्र कार्की
धनकुटाको महालक्ष्मी नगरपालिका घुमाउनेका किसानले रोपेको बन्दा व्यापारी आफैं आएर काटेर बोरामा प्याक गर्दै र भारतीय बजारमा पठाउन गाडीमा लोड गर्दै ।तस्विर ः चन्द्र/ कान्तिपुर

(तेह्रथुम) - तरकारी लगाउने समयदेखि नै व्यापारीले बारीमै आएर लगानी गरिदिएका कारण किसानले तरकारीको मूल्य तोक्न पाएका छैनन् । जसले गर्दा उत्पादक किसान बर्सेनि आफूले उत्पादन गरेको तरकारीको उचित मूल्य पाउनबाट ठगिँदै आएका छन् । तेह्रथुम, धनकुटा र संखुवासभाका किसानको बारीमै यतिबेला व्यापारी आफ्नै कामदार र सवारीसाधन लिएर तरकारी काट्न पुगेका छन् । बारीमै पुग्नुको कारण हो, तरकारी रोप्दाको समयदेखिकै आफ्नो लगानी । व्यापारीले किसानलाई बन्दा, काउली, आलु, मुला, मटरकोसालगायत तरकारी बाली रोप्ने समयदेखि नै लगानी गरेका छन् । व्यापारीले तरकारी रोप्ने समयदेखि नै क्षेत्र छुट्याएर मल, बीउ, विषादी, कामदारलगायतमा लगानी गरिरहेको महालक्ष्मी नगरपालिका १ घुमाउने धनकुटाका किसान इन्द्र श्रेष्ठले बताए । उनको करिब ४० रोपनी जग्गामा लगााएको बन्दा र मुला खेतीका लागि व्यापारीले मल, बीउ र विषादीमा लगानीमा लगानी गरिदिएका थिए ।
आफूले लगानी गरेका किसानका बारीमा व्यापारीहरू तरकारी निकाल्ने समय एक साताअघिदेखि नै गएर रुघेर बसेका छन् । आफूले लगानी गरेका किसानले अर्कै व्यापारीलाई तरकारी बिक्री गर्लान् कि भनेर दिनरात रुँघेर बस्ने गरेको व्यापारी लिलम काफ्लेले बताए । घुमाउने क्षेत्रका व्यापारीलाई मात्र आफूले तरकारी उत्पादन गर्न ३५ लाख रुपैयाँ बढी लगानी गरेको उनले बताए । यो लगानी उठाउन पनि सिजन लागेपछि किसानका बारीमै आएर रुघ्नुपर्ने बाध्यता रहेको व्यापारीको भनाइ छ । धनकुटाको महालक्ष्मी र जितपुर नगरपालिका, छथर जोरपार्टी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, लालीगुराँस नगरपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकाका करिब ३० हजार किसानलाई व्यापारीले १० करोड रुपैयाँ बढी लगानी गरेको व्यापारीको भनाइ छ ।
व्यापारीले छोटो समयमा उत्पादन दिने तरकारी बालीमा बढी लगानी केन्द्रित गरेका छन् । उत्पादित कृषि वस्तु आफूलाई दिने सर्तमा व्यापारीले किसानलाई लगानी गर्छन् । व्यापारीले बन्दा, आलु, काउली, मुला र हरियो मटरकोसाको खेतीमा किसानलाई बीउ, मल र विषादीमा लगानी गरेको अर्का व्यापारी पोस्टराज रायमाझीले बताए । उनले पनि किसानलाई उत्पादित ताजा तरकारी आफैंलाई दिने सर्तमा ठूलो रकम लगानी गरेको बताए । व्यापारीबाट लगानी लिएर तरकारी उत्पादन गरेका किसानले अर्को व्यापारीलाई आफ्नो उत्पादन बिक्री गर्न पाउँदैनन् । कसैले बिक्री गरिहाले लगानी गरेको समयदेखिको सम्पूर्ण रकमको ब्याजसहित व्यापारीलाई फर्काउनुपर्छ । त्यसो गर्दा उत्पादन लागत झन् बढी पर्ने भएकाले किसानले यो जोखिम मोल्न चाहँदैनन् । जसले गर्दा किसान तिनै व्यापारीले तोकेको मूल्यमा तरकारी बिक्री गर्न बाध्य हुने गरेको किसानको भनाइ छ ।
पूर्वी तराई र भारतीय बजारमा तरकारीको मूल्य आकासिएको समयमा साना ठूला व्यापारी र बिचौलियासमेत गरेर सयौंको संख्यामा किसानका तरकारी बारीमा पसेका छन् । आफूले लगानी गरेको किसानले अर्कै व्यापारीलाई तरकारी बिक्री गर्ला भनेर केही व्यापारीले त गोप्य रूपमा हेरालु नै राखेका छन् । यी तीन जिल्लाका चार स्थानीय तहमा खेती हुने तरकारीमा पाँच तहको सिन्डिकेट रहेको सिंधुवा कृषि भण्डारका प्रमुख बजार व्यवस्थापक मेघेन्द्र गुरुङले बताए । किसान आफूले उत्पादन गरेको तरकारी आफैंले प्रतिस्पर्धी बजारसम्म पुर्‍याउन नसक्दा यो समस्या आएको गुरुङको भनाइ छ । किसानबाट खरिद गरेको तरकारी सहकारी, संकलन केन्द्र र साना व्यापारी अर्थात् बिचौलियाले खरिद गरेर त्यही नाफा खाइदिने गरेका छन् । यो कुरा किसानले पत्तै पाउँदैनन् । यसरी संकलन भएको तरकारी कृषि बजारसम्म पुग्दा त्यहाँका कमिसन एजेन्टले पनि प्रशस्त नाफा राखेर मात्र तरकारी किन्ने गरेको गुरुङले बताए ।
किसानका बारीसम्म नै पुग्ने बिचौलियाका कारण तरकारी उत्पादक किसानले प्रतिस्पर्धी बजारमा मूल्य बुझ्ने मौका नै पाउँदैनन् । तहतहका व्यापारी र बिचौलियाका कारण उत्पादक किसान त मूल्यमा ठगिएका छन् नै, उपभोक्तासमेत चर्को मूल्य तिरेर बिहान बेलुकाको भान्सा टार्नुपर्ने अवस्थामा छन् । उत्पादक किसान, स्थानीय मध्यस्थकर्ता, साना तथा ठूला थोक बिक्रेता र खुद्रा बिक्रेतासमेतमा तरकारीको मूल्य निर्धारण हुने गरेको छ । त्यसको प्रतक्ष असर उपभोक्तामा पर्ने गरेको छ । यी सबै तहमा तरकारीको मूल्य बढे पनि मध्यस्थकर्तापछि किसानले बढेको मूल्य एक पैसा पनि पाउँदैनन् । यहाँका किसानका बारीमै पुगेर मध्यस्थकर्ता व्यापारीले प्रतिकेजी १५ रुपैयाँमा खरिद गरेको बन्दा पूर्वी तराई हुँदै भारतीय बजारमा पुग्दा दोब्बरभन्दा बढी भारतीय मूल्यमा बिक्री हुने गरेको छ । तर त्यो बढेको मूल्य किसानले नपाउने गरेको बजार प्रमुख गुरुङले बताए । तरकारी बजारको सिन्डिकेट किसानको बारीबाटै सुरु हुने गरेको गुरुङको भनाइ छ ।
खेती गर्ने समयमा लगानी गर्न नसक्दा बर्सेनि यो समस्या भोगिरहनुपरेको किसानको भनाइ छ । ‘व्यापारीले मल, बीउ र विषादी दिएर खेतीमा सहयोग गरेका छन्,’ धनकुटाको महालक्ष्मी नगरपालिकाका किसान टहलबहादुर गुरुङले भने, ‘लगानी गरिदिएपछि उत्पादन पनि तिनै व्यापारीलाई दिनुपर्ने बाध्यता छ ।’ जसले सहयोग गर्‍यो उसैलाई दिनुपर्ने किसानको कर्तव्य भएको उनले सुनाए । आफूले उत्पादन गरेको तरकारी पुग्ने नेपाल र भारतका बजारको थोक तथा खुद्रा मूल्य किसानलाई जानकारी नै हुँदैन । जसले गर्दा व्यापारी आफैंले किसानले उत्पादन गरेको तरकारीको मूल्य तोकिदिन्छन् । उत्पादक किसान हेरेकै हेरै हुन्छन् । हिजोआज कोसी राजमार्ग भएर यहाँ उत्पादित तरकारी दैनिक ३० ट्रकसम्म पूर्वी तराई हुँदै भारतीय बजारमा गइरहेका छन् । आफ्नो उत्पादन पुग्ने बजार मूल्यबारे किसान बेखबर छन् । यहाँ उत्पादन हुने ताजा तरकारी धरान, इटहरी, विराटनगर, बिर्तामोड, काठमाडौं, सिलगुढी, पानीट्यांकी र कोलकातासम्म पुग्ने गरेको छ ।
किसानले तरकारीको बजार मूल्य जानकारी नपाउँदा व्यापारीले नजिकको दूरीमा रहेका किसानलाई समेत जानकारी नै नदिई फरक–फरक मूल्यमा उस्तै प्रकृतिको तरकारी खरिद गर्ने गरेका छन् ।

अर्थ वाणिज्य

गरिमा धान बीउले किसानलाई धोका

अघिल्ला वर्षहरुमा फलेर काट्ने बेला हुने समयमा यो वर्ष धान पसाएको समेत छैन । भारतीय हाइब्रिड जातको गरिमा धानको बीउ बेच्नेलाई कारबाही र पीडित किसानलाई क्षतिपूर्ति दिनुपर्ने माग किसानहरुको छ । सरकारी निकायले केही समय धैर्य गर्न अपिल गरेको छ ।
- रमेशकुमार पौडेल

(चितवन) - चाँडै पाक्ने र धेरै फल्ने आशामा गरिमा नामको भारतीय हाइब्रिड जातको धान रोपेका चितवनका किसानहरू यो वर्ष नराम्ररी ठगिए । बोट राम्रो भए पनि अघिल्ला वर्षहरूमा फलेर काट्ने बेला हुने समयमा यो वर्ष धान पसाएको समेत छैन । गलत बीउ बेच्नेलाई कारबाही र पीडित किसानलाई क्षतिपूर्ति दिनुपर्ने माग किसानको छ । तर सरकारी निकायले केही समय धैर्य गर्न किसानलाई अपिल गरेको छ ।
सरकारी निकाय कृषि ज्ञान केन्द्र भरतपुरले असोज १६ मा प्रेस विज्ञप्ति निकालेर धानमा बाला नलागेको विषयमा विचार गर्न १५/२० दिन लाग्ने जानकारी गराएको थियो । केन्द्रका प्रमुख राजन ढकालले निकालेको प्रेस विज्ञप्तिमा केही स्थानहरूमा बाला लाग्ने लक्षणहरू देखिएको उल्लेख छ । ‘बाला लागेमा धान के कति फल्छ भन्नेबारेमा निधो गर्न केही दिन कुर्नुपर्ने अवस्था छ,’ उनले भने ।
चितवनका किसानहरूले ०७२ सालदेखि गरिमा धान रोप्दै आएका थिए । चाँडै पाक्ने भएका कारण आलु खेती गर्न उपयुक्त हुने देखेर यो धान लगाउँदै आएको खैरहनी नगरपालिका–१० खरखुट्टे कठारका किसान कृष्ण अर्यालले बताए । ‘अघिल्ला वर्षहरूमा यो समयमा धान काट्न सुरु हुन्थ्यो । यो वर्ष अझै बाला निस्केको छैन । धानको बोट राम्रो भएर के गर्नु,’ उनले भने ।
ज्ञान केन्द्रको विज्ञप्तिमा चितवनका किसानहरूले रोपेको बाला नलागेको धानको बीउको गुण नेपालमा दर्ता भएको गरिमा धानसँग मेल नखाएको उल्लेख छ । त्यसैले कार्यालयले डीएनए परीक्षणका लागि बीउबिजन गुणस्तर केन्द्र हरिहर भवनमा नमुना पठाएको छ । असोज ६ गते नमुना पठाएको केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिए । परीक्षणको प्रतिवेदन आएपछि थप कारबाही प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
गरिमा भारतीय कम्पनी रिनोभा सिड्स साइन्स इन्डिया प्रालिले उत्पादन गरेको धानको बीउ हो । नेपालमा दाङ लमहीको सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालिले यो धान भित्र्याएको हो । चितवनका लागि आधिकारिक बिक्रेता पर्सा खुरखुरेमा रहेको प्रशान्त एग्रोभेट हो । प्रशान्त एग्रोभेटका सञ्चालक प्रदीप पाठक आफूले यो वर्ष गरिमा धानको १३ हजार ४ सय ४ केजी बीउ बिक्री गरेको बताउँछन् ।
‘यो धान काटेर कात्तिकको पहिलो हप्ता आलु रोप्ने योजना बनाएका थियौं । तर न धान फल्ने भयो न आलु लगाउन पाइयो, बर्बादै भयो,’ किसान कृष्ण अर्यालले भने । खरखुट्टे व्यावसायकि आलु खेतीका लागि प्रख्यात छ । किसानहरूले प्रदेश कृषि मन्त्री दावा दोर्जे लामालाई भेटेर समस्या अवगत गराएका छन् । गलत बीउ बेच्नेलाई कारबाही र किसानलाई क्षतिपूर्ति दिन माग गरेका छन् । तर सरकारले राम्रोसँग नसुनेको किसानको गुनासो छ ।


फौजी कीराको दुःख थपियो
गरिमासँगै किसानहरूले सावित्री धान पनि रोपेका थिए । सावित्री धानमा बाला लागेको छ । तर ती बाला फौजी कीराले नोक्सान गरेको किसानहरूले बताए । ‘गरिमाबाहेक मेरो डेढ बिघा खेतमा सावित्री धान थियो । पसाएको सावित्री धानको बाला फौजी कीरा लागेर नोक्सान भएको छ,’ खैरहनी–१० का किसान कृष्ण अर्यालले भने । सावित्री धान रोपेको डेढ बिघामध्ये १४ कठ्ठा खेतको धान फौजी कीराले पूर्ण नोक्सान गरेको उनले बताए ।
‘धेरै किसानहरू कीराले खत्तम बनायो भनेर बिलौना गर्दै हिँड्नुभएको छ । कुनै धान पसाउँदै पसाएन । पसाएको धान पाक्ने बेलामा फौजी कीराले भ्यायो । यो वर्ष हामीलाई दुःखमाथि दुःख थपिएको रहेछ,’ अर्यालले दुःखेसो पोखे । फौजी कीराको प्रकोप फैलन थालेपछि राम्ररी नपाक्दै किसानहरूले धान काट्न सुरु गरेका छन् । चार पाँच दिनपछि काट्दा ठीक हुने धान कीराको त्रासले अगाडि नै काट्न बाध्य भएको किसानहरूले बताए ।

अर्थ वाणिज्य

७ सय हेक्टरमा बाला पसाएन

- भवानी भट्ट

(कञ्चनपुर) - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ पीताम्बरका दलबहादुर चौधरीले जेठ पहिलो साता धानको बेर्ना राखे । २० दिनभित्रै रोपाइँ पनि गरे । राम्रो फलाउने उद्देश्यका साथ मलखाद र सिँचाइ पनि पटक–पटक गरिरहे । उनीभन्दा पछि रोपाइँ गर्नेको धान पसाउन लाग्यो । पाकेर काट्न पनि थाले । तर उनको बारीमा अझै पनि धान पसाएको छैन ।
पोहोर साल १ बिघामा गरिमा धान लगाएका दलबहादुरले ५० क्विन्टल बढी धान फलाएका थिए । गत वर्ष राम्रो फलेपछि यसपालि आफूसंँग भएको डेढ बिघा पूरैमा त्यही धान रापे । तर यस वर्ष अहिलेसम्म पनि पसाउने छाँटकाँट छैन । ‘हाइब्रिड धान हो भनेर पोहोरभन्दा बढी मिहिनेत गरे, मलखाद र सिँचाइ पनि बढी नै गरे,’ दलबहादुरले भने, ‘तर यो बढी त के फल्नु पसाउँदै पसाएन ।’
दलबहादुरको आम्दानीको स्रोत त्यही डेढ बिघा जमिन हो । यसपालि आम्दानी त के खानका लागि समेत धान किन्नुपर्ने भएको छ । ‘बिहान साँझ खेतमा जान्छु, बोट हेर्छु केही देख्दिनँ निराश भई घर फर्किन्छु,’ उनले भने, ‘अब समय गएपछि खेतबारीमा जान पनि मन लाग्दैन ।’ नपसाउने धान लगाएको भन्दै उनको घरपरिवारमा पनि बेला बेला झगडा भइरहन्छ । ६ जनाको परिवारलाई के खुवाउने भन्ने चिन्ता छ ।
ब्याड राख्नेदेखि जोताइ, रोपाइँ, मलखाद र सिँचाइमा ४० हजार बढी खर्च भइसकेको उनले बताए । हिउँदमा आलु तथा अन्य तरकारी लगाउने भएकाले त्यसका लागि पनि ढिलो भएको उनी बताउँछन् । अब तरकारी फलाउन पनि नसकिने उनी बताउँछन् । ढिलासम्म धान नपसाएका कारण तरकारी लगाउन ढिला भएको उनले बताए ।
पीताम्बरमा दल बहादुरले गत वर्ष राम्रो फलाएको धान देखेर करिब २५ परिवारले गरिमा धान रोपेको छन् । उनीहरू सबैको धान अहिलेसम्म पसाएको छैन । उनीहरूले आवश्यक अनुसन्धान तथा छानबिनका लागि कृषि ज्ञान केन्द्रमा निवेदन पनि दिएका छन् । ‘पोहोर साल दाइले राम्रो फलाएको देखेर मैले पनि खोजी खोजी गरिमा धान लगाएँ,’ शुक्लाफाँटा नगरपालिका ७ पीताम्बरकै बिसराम रानाले भने, ‘यसपालि त धानै पसाएन ।’ उनका अनुसार पीताम्बरका कृषकहरूले स्थानीय डीके एग्रोभेटबाट बिउँ ल्याएर लगाएका हुन् ।
अधियाँ गर्नेलाई झनै समस्या
कैलालीको जोशीपुर गाउँपालिका १ बडरियाका रामब्रह्म भगतले ५ बिघा जमिन अधियाँ बनाएका थिए । पोहोर साल अलि अलि गरिमा धान लगाएका उनले यसपाला पूरै जमिनमा फेरि त्यही धान रोपे । ‘पोहोर साल राम्रो फलेको थियो, भात पनि मिठो हुन्थ्यो’ उनले भने, ‘बढी फल्ने र मिठो भातको लोभमा यसपालि डुबे ।’
ब्याड राख्नेदेखि जोताइ, मलखाद, रोपाइँ र सिँचाइका लागि एक/डेढ लाखभन्दा बढी खर्च भइसकेको उनले बताए । धान बेचेर ऋण तिर्ने उद्देश्यले गाउँबाटै पैसा सापटी लिएका उनी यतिबेला निराश छन् । उनले स्थानीय जोशीपुर बजारकै गणेशप्रसाद चौधरीको एग्रोभेटबाट बीउ खरिद गरी गरिमा धान लगाएका हुन् । उनकै जमिन पनि अधियाँ बनाएका छन् ।
जोशीपुरकै नागेश्वर डगौंराले पनि डेढ बिघामा गरिमा धान लगाएका छन् । सुरुदेखि गाँज राम्रो फोड्ने र हलक्क बढेका कारण उनले राम्रै मिहिनेत गरेका थिए । ‘हाइब्रिड धानमा कम्ती मिहिनेत चाहिँदैन, मलखाद र सिँचाइ पुर्‍याउन सके मात्रै राम्रो उत्पादन दिन्छ,’ उनले भने, ‘त्यही भएर गरिमामा पनि धेरै मिहिनेत र खर्च भयो, तर अहिलेसम्म पसाएन ।’ उनले पोहोर साल १० कामा गरिमा धान लगाउँदा १५ क्विन्टल फलाएका थिए । डेढ बिघामा कम्तीमा पनि ४० क्विन्टल धान फल्ने गरेको उनले बताए ।
कृषि ज्ञान केन्द्रले कैलाली र कञ्चनपुरमा ७ सय हेक्टरमा गरिमा धान रोपिएको अनुमान गरेको छ । एक सातासम्म गरेको स्थलगत अनुगमनपछि ज्ञान केन्द्रले उक्त अनुमान गरेको छ । ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टका अनुसार कञ्चनपुरमा शुक्लाफाँटा, कृष्णपुर, बेलौरी र पुनर्वास नगरपालिका तथा बेलडाडी गाउँपालिकामा गरिमा धान रोपिएको छ । सबैभन्दा बढी शुक्लाफाँटा, बेलौरी र पुनर्वास नगरपालिकामा उक्त धान रोपिएको उनले जानकारी दिए । यसैगरि कैलालीमा घोडाघोडी, गौरीगंगा, जोशीपुर, कैलारी, जानकी गाउँपालिकासँगै टीकापुर र भजनी नगरपालिकामा धेरै कृषकले गरिमा धान लगाएका छन् । कतिपय कृषकले
आफ्नो पुरै जमिनमा उक्त धान लगाएका छन् । अहिले नपसाएपछि उनीहरू निकै चिन्तित बनेका छन् ।
‘कैलाली र कञ्चनपुरमा करिब ७ सय हेक्टरमा धान रोपिएको प्रारम्भिक अनुमान गरिएको छ’ भट्टले भने, ‘हामी तथ्यांक संकलनमै छौं, विस्तृत विवरण आउन बांँकी छ ।’ उनका अनुसार एग्रोभेटहरूबाट प्राप्त तथ्यांक हेर्दा गरिमा धानको बीउ १० मेट्रिक टनभन्दा बढी कैलाली र कञ्चनपुरमा बिक्रि भएको छ । कैलाली र कञ्चनपुरमा धानको उत्पादकत्व प्रतिहेक्टर ३ मेट्रिक टन रहेको छ । यसका आधारमा धान उत्पादनमा ठूलो ह्रास आउने देखिन्छ ।
उनका अनुसार गरिमासंँगै सिन्दूरी र राधा १४ जातको धानमा पनि समस्या देखिएको छ । सिन्दूरी नपसाउने र राधा १४ मा विभिन्न रोगको प्रकोप बढी देखिएको छ । गरिमाको तुलनामा सिन्दूरी र राधा १४ थोरै रहेको छ ।
कस्तो जात हो गरिमा ?
गरिमा भारतमा उत्पादन गरिएको धानको जात हो । यो मध्यम अवधिको धान हो । यसको पाक्ने अवधि १ सय ३० देखि १ सय ३५ दिन रहेको प्राविधिकहरू बताउँछन् । नेपालमा यसलाई २०७२ मा मात्रै सूचीकृत गरिएको हो । सिन्दूरी पनि भारतीय जात नै हो । यो पनि मध्यम अवधिको धान हो ।
गत वर्ष किसानले रोपेको गरिमा धान राम्रै फलेको थियो । त्यही भएर यस वर्ष यसप्रतिको आकर्षण बढेको हो । तर यस वर्ष प्याकेजिङ गरिमाको भए पनि बीउ गरिमा हो वा होइन भन्नेमा आशंका उब्जिएको छ । कृषि प्राविधिकहरूका अनुसार हाइब्रिड बीउमा रोग किराको प्रकोप न्यून हुन्छ । तर कैलाली र कञ्चनपुरमा रोपएको गरिमा धानमा ब्लास्ट रोगको प्रकोप अत्यधिक देखिएको छ । ‘हाइब्रिड धानमा रोग कीरा नलाग्ने गरी जिनको विकास गरिएको हुन्छ,’ कृषि ज्ञान केन्द्रको अनुगमन टोलीमा खटिएको प्राविधिक सहायक जनक सिंहले भने, ‘तर यसमा लागेको रोग हेर्दा गरिमा होइन भन्ने छाँंट देखिन्छ ।’

अर्थ वाणिज्य

चिया प्रशोधन गर्ने प्रक्रिया कमजोरी

- कान्तिपुर संवाददाता

इलाम (कास)– दक्ष जनशक्तिको अभाव खेप्दै आएको यहाँको चिया क्षेत्रमा पछिल्लो समय त्यसको प्रत्यक्ष मार उद्योगहरूमा देखिएको छ । कृषक स्तरबाट नै खुलेका साना र मझौला उद्योगमा प्रशोधनका लागि दक्ष जनशक्ति अभाव देखिएको हो ।
पछिल्लो समय जिल्लामा साना र मझौला गरी डेढ सय धेरै चिया उद्योग स्थापना भएका छन् । अर्थोडक्स चिया उत्पादन गर्ने यस्ता उद्योगले काम चलाउ ढंगले मात्र प्रशोधनको काम अघि बढाएका हुन् ।
जनशक्ति नै नपाइने र उद्योगीले धेरै रकम खर्च गरेर प्राविधिक राख्न नसकेका कारण त्यसको असर चियाको गुणस्तरमा परेको हो । चिया तथा कफी विकास बोर्डले उद्योगीलाई नै दक्ष बनाउने प्रयास थाले पनि त्यो पर्याप्त देखिँदैन ।
‘आफैं कृषक, श्रमिक र उद्यामी भएपछि धेरै कुरामा समस्या खेप्नुपरेको छ,’ सूर्योदय नगरपालिका मालुमका जीवन नेपालले भने, ‘जसोतसो कारखाना सञ्चालन गरिए पनि त्यसालाई सुकाउने, क्वालिटी मेन्टेन गर्ने, प्याकिङ गर्नेजस्ता धेरै कुरामा अझै पनि कमजोरी देखिएको छ ।’ अधिकांश यस्ता उद्योगीले प्रशोधनमा देखिएको त्रुटिलाई स्विकारेका छन् ।

Page 13
अर्थ वाणिज्य

रामेछाप विमानस्थलमा लुक्लाका लागि चाप

- टीकाप्रसाद भट्ट

प्रायः सुनसान हुने रामेछाप विमानस्थलमा हिजोआज बिहान ६ बज्न नपाउँदै जहाजको चर्को आवाज सुनिन्छ । लुक्ला उडानका लागि साना जहाज चर्को आवाज निकालेर अकासिन्छन् । काठमाडौं विमानस्थलकै झल्को दिने गरी एकपछि अर्को लस्करै जहाज उड्दा धेरै स्थानीयले ओछ्यान छोडिसकेकै हुँदैनन् ।
लुक्ला जाने पर्यटकका लागि यो मुख्य सिजन हो । सगरमाथा आधार शिविरका लागि पदमार्ग र हिमाल आरोहण गर्नका लागि एक मात्र प्रवेश मार्ग लुक्ला जानका लागि ओइरिएका विदेशी पर्यटकलाई चाँडोभन्दा चाँडो उडाउन विमान कम्पनीका कर्मचारीलाई भ्याइनभ्याई छ । एउटा जहाज उडान गर्न नपाउँदै अर्को अवतरण गर्दा विमानस्थलको व्यवस्तता सहजै बुझ्न सकिन्छ । उडान र अवतरण गरी दैनिक सरदर ७० पटक विमानस्थल प्रयोग भएको रामेछाप नागरिक उड्डयन कार्यालयका एटीसी नोर्बु शेर्पाले बताए ।
असोज १४ गतेदेखि रामेछाप विमानस्थलमै जहाज राखेर ३ वटा निजी वायु सेवा कम्पनीले लुक्लाको उडान थालेका हुन् । तारा, समिट र सीता एयरले रामेछापबाट लुक्लाका लागि यात्रु बोक्छन् । यो सिजनमा लुक्ला जाने पर्यटक खचाखच छन् भने फर्कने न्यून छन् । थोरै अवधिका लागि पदमार्गमा जाने पर्यटक अब फर्कने बेला भएकाले लुक्काबाट फर्कंदा पनि विमानले केही पर्यटक पाउँछन् । लुक्लाबाट सिधै काठमाडौं जाने केही उडानसमेत छन् । लुक्लाको मौसम बिग्रेर जहाज उड्न नसक्दा हेलिकप्टरको उडानसमेत हुने गर्छ । सके लुक्ला नसके नजिकैको सुर्केमा लगेर हेलिकप्टरले यात्रु झार्ने गर्छन् ।
काठमाडौं विमानस्थलबाट लुक्ला उडान र अवतरणका लागि पालो कुर्नुपर्ने भएकाले पर्यटकलाई निर्धारित समयमा ओसार्न विमान कम्पनीहरूले रामेछाप विमानस्थलबाट धेरै सेवा सञ्चालनमा ल्याएका छन् । रामेछापबाट लुक्ला जानका लागि काठमाडौंभन्दा आधा समय कम हुने, उडान र अवतरणका लागि पालो कुर्नु नपर्ने र मौसममा आउने फेरबदलमा समेत उडान भ्याउने कारण लुक्ला उडानका लागि रामेछाप आकर्षणमा परेको हो । जाडो मौसममा काठमाडौं विमानस्थलमा हुस्सुले ढाक्दा लुक्ला खुलेको हुने र बिहान अबेर काठमाडौं खुल्दा लुक्लामा बादलले छोपिसक्ने भएकाले पनि निर्धारित उडान हुन सक्दैनन् । त्यसका लागि रामेछाप विमानस्थलबाट उडान गर्नु उत्तम विकल्प हो ।
विमान चढनका लागि टिकट काटेका पर्यटकलाई काठमाडौंबाट गाडीमा रामेछापसम्म ल्याउने गरिएको छ । विभिन्न ट्राभल एजेन्सी र होटलहरूले पर्यटकलाई हाइस र मिनी बसमा रामेछापसम्म ल्याउँछन् । काठमाडौंबाट बीपी राजमार्ग हुँदै रामेछाप पुग्न करिब ४ घण्टा लाग्छ । सडक मार्गबाट आएका पर्यटक सिधै विमानस्थल पुग्छन् र लुक्लाको उडान समाउँछन् । केही यात्रु मुलकोट, खुर्कोट मन्थली बसेर जाने पनि छन् । त्यसबाहेक विमानस्थल नजिकै रहेको मन्थली बजारका होटल तथा लजमा बस्ने पर्यटक पनि उत्तिकै छन् । लुक्लाको मौसम बिग्रेर निर्धारित समयमा उडान भएन भने मन्थलीमा पर्यटकले बास पाउन मुस्किल हुन्छ । सामान्य खाना खुवाउने होटलमा बास बसेर भोलिपल्टको उडानमा उनीहरू जाने गरेका छन् । विमान चालक, कर्मचारी र ट्राभल एजेन्सीका कर्मचारीले मन्थलीका केही होटल लामो समयसम्मका लागि बुकिङ गरेकाले एक रातका लागि हम्मेसी होटल पाउन सकिँदैन ।
स्थानीय वीरेन्द्र श्रेष्ठका अनुसार विमानस्थल सञ्चालनमा आएपछि आसपासको व्यापार व्यवसाय चम्केको छ । पर्यटकहरूले खाना र खाजा खाँदा मात्र विमानस्थल वरिपरिको व्यापार राम्रो भएको छ । यातायात, होटल र लजले राम्रो कमाएका छन् । रामेछापबाट लुक्लाका लागि तयारी मासु, तरकारी, बिस्कुट, चाउचाउजस्ता तयारी खानासमेत उल्लेख्य मात्रामा जान थालेको छ ।
काठमाडौंभन्दा पूर्वतर्फको सबैभन्दा नजिकको विमानस्थल रामेछापलाई विस्तार गरी आन्तरिक उडान गर्ने योजना सरकारले अघि सारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले अघि सारेका वार्षिक योजनामा उक्त बुँदा उल्लेख छ । हाल १९ जना अट्ने साना जहाज मात्र अवतरण गर्ने विमास्थललाई क्षेत्र विस्तार गरेर पूर्वतर्फका सबै आन्तरिक उडान रामेछापबाटै गर्ने योजना सरकारले अघिसारेको हो ।
जिल्लाको विमानस्थलमा दैनिक ७० उडान र अवतरण हुँदा पनि रामेछापेलीले हवाई सेवाबाट वञ्चित हुनुपरेको छ । रामेछाप–काठमाडौंका लागि सातामा कम्तीमा एउटा उडान राख्न विमान कम्पनीहरूलाई नगरपालिका र जिल्ला प्रशासन कार्यालयले गरेको आग्रहप्रति बेवास्ता गरिएको छ ।
रामेछापबाट काठमाडौंका लागि यात्रु थोरै हुने तर्क गर्दै कम्पनीहरूले रामेछापेलीलाई हवाई सेवा उपलब्ध गराएका छैनन् । ‘हामीलाई विमानस्थल चले र नचलेको केही चासो छैन,’ स्थानीय गणेशबहादुर माझी भन्छन्, ‘विमान चढेर काठमाडौं आउजाउ गर्न पाइयो भने बल्ल यसको महत्त्व होला ।’ रामेछाप–काठमाडौं सातामा एक उडान गर्दै आएको तारा एयरले कालोपत्रेका लागि विमानस्थल बन्द भएको बेलादेखि फेरि उडान थालेको छैन । विमानस्थल कालोपत्रे भएको ४ वर्ष पूरा भइसकेको छ ।

अर्थ वाणिज्य

नयाँ प्रविधिले बढ्यो उत्पादन

- सुम्निमा चाम्लिङ

(इटहरी) - बराहक्षेत्र–९ प्रकाशपुर ढोलबजियाका छविलाल चौधरी, रघुवीर चन्द्रवंशी र अमिर निरौला कृषि पेसामा रमाउन थालेको डेढ वर्ष भयो । कृषि पेसा अंगाल्नुअघि चौधरी अफगानिस्तानमा, चन्द्रवंशी र निरौला भने रोजगारीका क्रममा दक्षिण कोरिया पुगेका थिए । वैदेशिक रोजगारको क्रममा आर्थीक रूपमा राम्रो आम्दानी भए पनि स्वदेशमा केही गर्ने चाहना भने भने अधुरो थियो ।
विदेशमा रहँदा उनीहरूबीच सामाजिक सञ्जालमार्फत तरकारी खेती गर्ने योजना बन्यो । विदेशबाट फर्किएलगत्तै छविलालको जमिन करारमा लिएर तरकारी खेतीको सोच बनाए । उनीहरूले १ बिघा ८ कट्ठामा ‘टनेल’ बनाएर तरकारी खेती गर्दै आएका छन् । ६ लाख रुपैयाँ लगानीबाट खेती सुरु गरेका हुन् । हाल उनीहरूको दैनिकी फर्ममा बित्ने गरेको छ ।
बेमौसमी खेती गर्न मिल्ने, रोग र किराको संक्रमण कम हुने भएकाले टनेल बनाएर तरकारी खेती गर्दै आएको छविलाल चौधरीले बताए । बेमौसमी तरकारी उत्पादन गर्न सके राम्रो आम्दानी हुने भएकाले टनेलको प्रयोग गरेको उनको भनाइ छ । टनेलभित्र खुर्सानी, बोडी, साग, करेला, परवल लगायतका तरकारी लगाइएको छ । खुला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उनी बताउँछन् ।
रघुवीर र अमिर कोरियामा रहँदा बिदाको समयमा कृषि फार्म पुग्ने गर्थे । त्यहाँको आधुनिक प्रविधिद्वारा गरिएको कृषि फार्म देख्दा उनीहरूलाई नेपालमा समेत गर्न सकिन्छ भन्ने सोच थियो । रघुवीरले भने, ‘विदेशमा प्रविधिबाट खेती भइरहँदा नेपालमा भने परम्परागत रूपमा खेती हुँदा निकै दुःख लाग्थ्यो ।’ छविलालको सामान्य तरकारी खेतीको अनुभवलाई आधार मानेर निरौला र चन्दवंशीले ‘सुन्दर कृषि फर्म’ सुरु गरे ।
गत वर्ष उनीहरूले २० लाखको कारोबार गर्न सफल भएका छन् । तरकारी खेतीबाट हाल मासिक १ लाख रुपैयाँ कमाइ हुने गरेको छ । तीन जनालाई रोजगारी प्रदान गरेका छन् । ‘बिरुवा उमार्न र तापक्रम मिलाउन नसक्दा सुरुवाती दिनमा घाटा सहन पर्‍यो,’ अमिरले भने, ‘अहिले एक वर्षको अनुभवले धेरै कुरा सिकाएको छ ।’ बिरुवामा लाग्ने किराहरूको बारेमा समेत सचेत हुनुपर्ने उनको भनाइ छ ।
अत्यधिक नोक्सानी भएपछि भने उनीहरूले जेटिएको परामर्श लिन थालेका छन् । तरकारी खेतीमा मौसम मुख्य चुनौती हुने गरेको छ । समयानुसार तरकारी उत्पादन गर्न सफल भए राम्रो मुनाफा आर्जन गर्न सकिने अमिर निरौला बताउछन् । अर्गानिक तरकारी खेतीमा उनीहरूको प्रयास छ । जैविक मलको प्रयोग बढी गर्ने गरेका छन् । विसादी रहित तरकारी खुवाउने उनीहरूको योजना छ ।
‘नगरवासीलाई सकेसम्म अर्गानिक तरकारी खुवाउने प्रयास गरेका छौं,’ रघुवीरले भने । हाल उनिहरूले सुनसरीभित्र तरकारी निर्यात गर्दै आएका छन् । माग अनुसार उत्पादन गर्न नसकेको उनले बताए । ‘उत्पादन गरिएको तरकारीका लागि बजारको समस्या छैन,’ उनले भने । यस वर्ष आलु खेती विस्तार गर्ने योजना छ ।
उनीहरूको कामको मूल्यांकन स्वरुप बराहक्षेत्र नगरपालिकाले जेटिए परामर्श व्यवस्था गरिदिएको छ । नगरले गन वर्ष विषादिरहित तरकारी उत्पादनसम्बन्धी तालिम प्रदान गरेको थियो । तालिमपछि विषादिरहित तरकारी उत्पादन गर्नमा थप ज्ञान मिलेको छ । नेपालमा वार्षिक खर्बौं तरकारी आयात हुने गरेको अवस्था छ । यस्तो अवस्थामा केही प्रतिशत भए पनि आयात रोक्ने उनीहरूको लक्ष्य छ । घरमा खानका लागि मात्र तरकारी रोप्ने किसानहरू हाल व्यावसायिक रूपमा अघि बढेका छन् । परिवार सँगै स्वदेशको माटोमा रमाउन पाउँदा उनिहरू गर्व गर्छन् ।

अर्थ वाणिज्य

पर्यटकले ढाकियो अन्नपूर्ण पदमार्ग

- आश गुरुङ

(लमजुङ) - एक महिनाअघि सुनसान देखिएको चक्रीय अन्नपूर्ण पदमार्गमा अहिले पर्यटकको लस्कर देखिन थालेको छ । अघिल्लो महिना दैनिक १५ देखि २० जनासम्म पर्यटक हिँड्ने पदमार्गमा अहिले दैनिक २ सय पर्यटक हिँड्न थालेका छन् । बेंसीसहरबाट सुरु हुने चक्रीय पदमार्गको बाटो हुँदै पर्यटक लमजुङको उत्तरी क्षेत्र, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत भएर पोखरा पुग्ने गर्छन् । पदमार्गमा पर्ने संसारकै अग्लो पदमार्ग भञ्ज्याङ थोराङला (५,४१६ मि. उचाइ) र तिलिचो (४९१९ मि.) पर्यटकको प्रमुख गन्तव्य हो ।
पर्यटक बढेसँगै व्यवसायीमा उत्साह थपेको छ । ‘एक महिनाअघि होटल प्रायः खाली नै हुन्थ्यो । अहिले दिनहुँ पर्यटक आउन थालेका छन् । हुलका हुल देखिएका छन्,’ माथिल्लो मनाङमा होटल तिलिचो सञ्चालन गर्दै आएका कर्मा गुरुङले भने, ‘पानी अलिअलि परिरहे पनि पर्यटकीय सिजन सुरु भएको छ । पानीले पर्यटकलाई छेकेको छैन ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङ अन्तर्गत पर्यटक चेकजाँच केन्द्र भ्राका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार दैनिक डेढ सय पर्यटक माथिल्लो क्षेत्र आउने गरेका छन् । ‘पदमार्ग भरिभराउ हुन थालेको छ । मौसममा सुधार आए अब दसैंतिहारको बीचतिर पर्यटक बढ्ने छन्,’ उनले भने, ‘दसैंतिहारको बीच समय स्वदेशी पर्यटक पनि निकै आउँछन् ।’ उनका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटक थोराङला पास र तिलिचो जान्छन् । केही मात्रै मनाङ क्षेत्रमा बिताउँछन् । पछिल्लो समय तिलिचोतर्फ पर्यटक आकर्षित भएको उनले बताए । पर्यटकका लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर तथा मार्च, अप्रिल र मे महिनालाई सिजन मानिन्छ ।
(एक्याप) अन्तर्गत मनाङको तल्लो क्षेत्र धारापानीस्थित पर्यटक चेकपोस्टका पर्यटन सहायक सोमी गुरुङका अनुसार दैनिक २ सयसम्म अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक आउने गरेका छन् । उनका अनुसार जुलाईमा ३ सय ७८ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएका थिए । अगष्टमा ४ सय ७६ पर्यटक आएकोमा सेप्टेम्बरमा मात्रै २ हजार ७ सय २१ पर्यटक आएको उनले बताए । सन २०१९ को ९ महिनामा १४ हजार ६ सय २५ विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आएका छन् । जनवरीमा ४ सय ७२, फेब्रअरीमा ५ सय १४, मार्चमा २ हजार ५ सय ९५, अप्रिलमा ५ हजार ९५, मेमा १ हजार ९ सय २८ र जुनमा ४ सय ४६ पर्यटक आएको उनले बताए ।
एक्यापका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गमा सन २०१८ मा २९ हजार ४ सय ८० पर्यटक आएका थिए । सन् २०१७ मा २७ हजार ६८ जना पर्यटक आएका थिए । सन् २०१६ मा २२ हजार १ सय ८ पर्यटक पदमार्ग घुम्न आएका थिए । एक्याप मनाङका पर्यटन सहायक बृजबहादुर गुरुङका अनुसार पछिल्लो वर्ष चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आउने पर्यटक बढेका छन् । शान्ति सुरक्षाको प्रत्याभूति, चक्रीय अन्नपूर्ण पदमार्गको प्रचारप्रसार, यहाँका प्राकृतिक तथा सांस्कृतिक स्वाद लगायतले पर्यटकको आकर्षण बढ्दो छ । सडक स्तरोन्नति हुँदै गएका कारणले पनि सवारी साधनमार्फत पर्यटक आउने गरेका छन् । चक्रीय अन्नपूर्ण पदमार्गलाई अहिले विश्वको उत्कृष्ट १० सूचीमा छैन । ५ वर्षअघि हिमाली फेदसम्म सडक पुगेपछि उत्कृष्ट १० को सूचीबाट हटेको हो । तर, पर्यटक आगमन भने बढेको छ । पदमार्गमा आउने पर्यटक प्रायः हिँड्न मनपराउँछन् भने केही पर्यटक बेंसीसहरबाट सिधै मनाङ पुग्छन् । चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा २१ दिनको हो । पदमार्गको मुस्ताङ र मनाङका हिमाल फेदसम्मै गाडी गुडन थालेपछि यात्रा छोटिएर एक सातादेखि १० दिन्न झरेको छ ।

Page 14
अर्थ वाणिज्य

सहज हुँदै मनाङ यात्रा

- आश गुरुङ

(लमजुङ) - वर्षायाममा बाढीपहिरोले प्रायः अवरुद्ध हुने बेंसीसहर–चामे सडक सहज बन्दै गएको छ । मनाङको चामेसम्म गाडी गुड्न थालेको ६ वर्ष भयो । ४ वर्षयता माथिल्लो क्षेत्रमा पनि गाडी गुड्न थालेका छन् ।
बेंसीसहर–चामे सडक ६५ किमि छ । चामेबाट माथिल्लो मनाङसम्म ३० किमि र चामेबाट खाङसार ३८ किमि पर्छ । चामेदेखि लमजुङ सीमाको म्यार्दीखोलासम्म ३० किमि, बेंसीसहरदेखि म्यार्दीखोलासम्म ३५ किमि छ । अधिकांश सडक भीरैभीरमा बनाइएको छ । बेंसीसहर–चामे सडकको लमजुङ खण्डमा पर्ने स्याँगेमा केही समयअघि गएको पहिरो हटाएपछि यातायात सुचारु भएको छ । असार ८ मा बगाएको म्यार्दीखोलाको बेलिब्रिज तीन महिनामा पुनर्निर्माण सकेर असोज ९ बाट सवारी आवागमन सुरु भएको छ । म्यार्दीभीरमा सडक सहज भएको छ । ‘यति बेला मनाङको कुनै पनि ठाउँमा सडक अवरुद्ध छैन,’ मनाङको नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङले भने ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ का अध्यक्ष सुमन गुरुङका अनुसार बर्खायाममा बाढी र पहिरोग्रस्त सडकमा अहिले त्यो समस्या छैन । यातायात साधन निर्बाध आउजाउ गरिरहेका छन् । ‘पहिरो हटाएपछि गाडी गुडिरहेका छन्,’ उनले भने । लमजुङ खण्डको च्याम्चे, अर्खलेबेंसी, स्याँगे क्षेत्र बढी जोखिमयुक्त मानिन्छ । बर्खायामबाहेक हिउँदमा कुनै समस्या नहुने उनले बताए ।
मनाङतर्फ म्यार्दीभीर र सिरानताललगायत क्षेत्र जोखिमपूर्ण मानिन्छन् । हिउँदमा भने कुनै समस्या हुँदैन । डिभिजन सडक कार्यालय दमौलीका सब–इन्जिनियर सुमन अधिकारीका अनुसार साउन र भदौमा बढी पानी पर्ने भएकाले बाढीपहिरोको डर हुन्छ । ‘सबैभन्दा ठूलो समस्या म्यार्दीखोला र पहिरोमा थियो । पुल राखिसक्यौं । पहिरो हटाइसक्यौं,’ उनले भने, ‘अरू ठाउँका सानातिना पहिरो पनि पन्छाएका छौं । कहिलेकाहीँ सानोतिनो पहिरो जानु सामान्य हो ।’ बेंसीसहरदेखि माथिल्लो मनाङसम्मै सवारीसाधन गुड्न थालेको उनले बताए ।
मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार केही दिनअघिसम्म सडक खुल्ला कि नखुल्ला भन्ने थियो । ‘अब आवतजावतमा समस्या छैन,’ उनले भने, ‘बाटो खुलेपछि सबैलाई सुविधा भयो ।’

अर्थ वाणिज्य

'कर्णालीको विकास कडी’

हिल्सा–जमुनाह द्रुतमार्ग
कर्णाली सरकारले द्रुतमार्गलाई ‘ड्रिम प्रोजेक्ट’ का रुपमा राखेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चीन भ्रमण क्रममा यो मार्ग निर्माणका लागि प्रारम्भिक समझदारीसमेत गरेका थिए ।
- कलेन्द्र सेजुवाल

(सुर्खेत) - सन् १९५० को दशकसम्म तिब्बतसँग कर्णालीको सिधा व्यापारिक सम्बन्ध थियो । तिब्बतमा भएको राजनीतिक परिवर्तन त्यस सम्बन्धमा तगारो बन्यो । प्रस्तावित हिल्सा–जमुनाह द्रुतमार्गले त्यही ऐतिहासिक सम्बन्धलाई पुनर्जीवन दिने अपेक्षा कर्णालीले गरेको छ ।
चीन सरकारको स्वामित्व रहेको चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) गरी साउन १७ मा कर्णाली प्रदेश सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । यही परिवेशमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले द्रुतमार्गलाई जीवन्तता दिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वास छ । ‘मुख्य कुरा लगानी हो, यो भ्रमणले द्रुतमार्ग निर्माणलाई गति दिन्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘यसमा नेपाल सरकार तयारै देखिन्छ, चीन सरकारले पनि कर्णालीलाई निराश नबनाउला ।’ बिहीबारको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गलाई द्विपक्षीय वार्ताको एजेन्डामा राखेको जानकारी पाएपछि उत्साह थपिएको उनले बताए ।
कम्पनीले तयार गरेको अध्ययन प्रतिवेदनमा द्रुतमार्गको हिल्सा–सुर्खेत खण्ड ४ सय ३ किलोमिटर लामो हुने उल्लेख छ । यसको निर्माणमा ६४ अर्ब लागत र ५४ महिना समय लाग्ने कम्पनीको भनाइ छ । यसका अतिरिक्त सुर्खेतदेखि भारतीय सीमावर्ती जमुनाहको दूरी करिब १ सय १० किलोमिटर छ । कम्पनीले उक्त खण्डको डीएसएफ गरेको छैन । हुम्लाबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही द्रुतमार्गको सन्दर्भमा सकारात्मक सम्झौता भए कर्णाली र तिब्बतबीचको ऐतिहासिक व्यापारिक सम्बन्धले पुनर्जीवन पाउने बताउँछन् । ‘तिब्बतसँग टुटेको कर्णालीको प्राचीन व्यापारिक सम्बन्धलाई द्रुतमार्गले जोड्न मद्दत गर्नेछ,’ उनले भने, ‘यसले दुवै देशलाई दोहोरो फाइदा हुनसक्छ ।’
नेता शाहीका अनुसार २०६१ सालमै तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा द्रुतमार्गको परिकल्पनासहित बजेट विनियोजित गरिएको थियो । २०६८ सालमा बाबुराम भट्टराईले कर्णाली करिडोरका रूपमा यसको निर्माण प्रक्रिया अघि बढाए । ‘अहिले प्रदेश सरकारको पहलमा द्रुतमार्ग निर्माणमा चीन सरकारले समेत हातेमालो गर्ने वातावरण बन्दै गएको छ,’ उनले भने, ‘चीन सरकार सकारात्मक र सहयोगी हुनुले कर्णालीको समृद्धिमा आशा जागेको छ ।’
चीन मामिलाका जानकार रहेका साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य हिल्सा–जमुनाह द्रुतमार्ग चीनका लागि समेत महत्त्वको मार्ग रहेको बताउँछन् । उनका अनुसार चीनले हालको तेह्रौं पञ्चवर्षीय योजनामै तिब्बतको विकासका लागि सडक र रेलमार्गलाई पश्चिमतिर विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । प्राथमिकताको सूचीमा हिल्सा–जमुनाह द्रुतमार्ग स्वाभाविक रूपमा परेको छ । द्रुतमार्ग बने नेपाल, भारत र चीनबीच व्यापारिक तथा पर्यटकीय विकास तीव्र गतिमा हुने उनले बताए । ‘कर्णालीमा उत्पादन हुने स्याउदेखि कृषिजन्य वस्तु सहजै तिब्बत पुग्न सक्छन्,’ आचार्यले भने, ‘तिब्बतले समेत आफ्ना उत्पादनलाई नेपाल हुँदै भारतसम्म निर्यात गर्नसक्छ ।’ कैलाश मानसरोबर यात्रा गर्ने भारतीय तीर्थयात्रीका लागि समेत द्रुतमार्ग सजिलो बाटो हुने उनले बताए ।
मुख्यमन्त्री शाहीले भने झैं द्रुतमार्ग निर्माणमा आर्थिक पक्ष प्रमुख हो । चिनियाँ कम्पनीले डीएसएफ हस्तान्तरणका क्रममा आफैं द्रुतमार्ग निर्माण गर्ने प्रस्ताव राखेको थियो । उसले विभिन्न मोडल प्रस्तुत गर्दै इन्जिनियिरिङ पोक्युरमेन्ट कन्स्ट्रक्सन–फाइनान्सियल (इपीसी–एफ) मोडलबाट काम गर्दा द्विपक्षीय हितमा हुने आशय व्यक्त गरेको छ । यो मोडलअन्तर्गत कुल लागतको १५ प्रतिशत नेपाल सरकार (प्रदेश सरकारसमेत) ले र ८५ प्रतिशत निर्माण कम्पनीले सफ्ट लोन (न्यून ब्याजदरको ऋण) लिई काम गर्ने उल्लेख छ । नेपाल सरकार जमानत बसी चीनको एक्जिम बैंकबाट लिइने उक्त ऋण पछि सरकारले नै चुक्ता गर्नुपर्नेछ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला भने द्रुतमार्ग उच्चस्तरीय राजनीतिक भ्रमणको एजेन्डामा परेकाले कुन मोडलमा निर्माण गर्ने भन्नेबारे दुई सरकारबीचको समझदारीमा भर पर्ने बताउँछन् । ‘यही प्रक्रियाबाट अघि बढ्न सक्छ, नयाँ प्रक्रियाबाट पनि काम सुरु पनि हुनसक्छ,’ उनले भने, ‘द्विपक्षीय वार्तापछि मात्र निर्क्योल होला ।’
कम्पनीले ईपीसी–एफ मोडलमा गए सन् २०२० को मार्चमा काम सुरु गरी २०२५ को अक्टोबरसम्म निर्माण सम्पन्न गर्ने जनाएको छ । यो मोडलमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को थप व्ययभार पनि पर्दैन । कम्पनीले डीपीआरका लागि १ अर्ब ५० करोड लाग्ने अनुमान पेस गरेको छ ।
द्रुतमार्गको मार्गचित्र
कम्पनीले तयार पारेको प्रतिवेदनअनुसार सुर्खेतको धुलियाबिटदेखि चीनको सीमावर्ती हुम्लाको हिल्सा जोड्ने द्रुतमार्ग दुई लेनको हुनेछ । सडकको चौडाइ ४ दशमलव ८ मिटरदेखि ११ मिटर हुनेछ । कम्पनीले दूरी घटाउन विभिन्न ठाउँमा सुरुङमार्ग बनाउन सकिने जनाएको छ । तर, सुरुङ बनाउँदा उक्त खण्डको लागत २० गुणा बढ्ने र पछि मर्मतसम्भारमा कठिनाइ हुने कम्पनीको भनाइ छ । सुरुङभित्र चौबीसै घण्टा विद्युत् आवश्यक हुने भएकाले अहिल्यै सुरुङ बनाउनु उपयुक्त नहुने कम्पनीका इन्जिनियर छिङ यूको भनाइ छ । उनका अनुसार हुम्लाको नारामा साढे ४ किलोमिटर र सुर्खेतको कपासे तथा कालिकोटको खुलालुमा २/२ किलोमिटर सुरुङ बनाउन सकिन्छ । सुरुङ नबने सुर्खेत–हिल्सा दूरी ८ देखि १० घण्टामा र सुरुङ बने त्योभन्दा अझ कम समयमा दूरी तय गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
ॅड्रिम प्रोजेक्ट’
कर्णाली प्रदेश सरकारले हिल्सा–सुर्खेत–(जमुनाह) द्रुतमार्गलाई ‘ड्रिम प्रोजेक्ट’ का रूपमा राखेको छ । सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा हिल्सा–सुर्खेत–जमुनाह सडकलाई ड्रिम प्रोजेक्टका रूपमा उल्लेख गर्दै केन्द्र सरकारसँग समन्वय गरी निर्माण गर्ने जनाएको थियो । २०७५ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित रारा क्याबिनेट बैठकमा उक्त सडकलाई ‘प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग’ नामकरण गरी कार्यान्वयनका लागि नेपाल सरकारलाई आग्रह गरिएको थियो । २०७५ असोजमा मुख्यमन्त्री शाहीले गरेको चीन भ्रमणमा यो द्रुतमार्ग चिनियाँ चासोभित्र परेको थियो । त्यस क्रममा उनले सिचुवानमा द्रुतमार्ग निर्माणका लागि चिनियाँ सरकारी टोलीसँग प्रारम्भिक समझदारी गरेका थिए । लगत्तै नेपाल सरकारले चिनियाँ कम्पनीलाई सर्वेक्षण गर्न स्वीकृति दियो । चिनियाँ टोलीले २०७५ कात्तिकबाट प्रारम्भिक सर्वेक्षण सुरु गरेको थियो ।
यो द्रुतमार्गको पूर्णखण्ड चिनियाँ सीमावर्ती क्षेत्र हुम्लाको हिल्सादेखि भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाहसम्म हो । नेपाल र चीनबीच सम्पन्न ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) सम्बन्धी समझदारी कार्यान्वयनको हिसाबले यो सडक चीन सरकारको चासोमा पर्छ । दुई सरकारबीच हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल (ट्रान्स हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क)को बृहत्तर फ्रेमवर्कभित्र रही रेलवे, सडक, बन्दरगाह, हवाईमार्ग र सञ्चारजस्ता क्षेत्रमा काम गर्ने सहमति भएको छ ।

अर्थ वाणिज्य

नाक्चेनाङ्ला नाका खोल्न आग्रह

- कान्तिपुर संवाददाता

 

मुगु– चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका क्रममा तिब्बतसँग जोडिएको नाक्चेनाङ्ला नाकाले बैधानिकता पाउने अपेक्षा मुगुवासीले गरेका छन् । यो नाका बर्षेनि एकपटक साउनमा १५ दिनमात्र मुगु र तिब्बतबीच हुँदै आएको व्यापारिक मेलाका लागि खुल्ने गर्छ ।
मुगुमकार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामाले यो नाकालाई औपचारिक रुपमा खोलेर सडक सञ्जाल बिस्तार गर्नुपर्ने बताए । डेढ दसकदेखि निर्माणकार्य ओझेलमा परेको नाक्चेनाङला सडक निर्माणमा पनि चिनियाँ सहयोगको खाँचो रहेको उनको भनाइ छ । चीन सरकारले मुगुगकार्मारोङ गाउँपालिकाका बासिन्दालाई अनुदान स्वरुप उपलब्ध गराउँदै आएको खाद्यान्न पनि नियमित गर्न उनले माग गरे । यो अनुदान गत बर्षदेखि स्थगित गरिएको छ ।
कर्णाली प्रदेशसभा सदस्य झोवा बिकले पर्यटकीय क्षेत्र राराको पर्यटन पूर्वाधार निर्माणमा चीन सरकारको सहयोगको आशा व्यक्त गरिन् । उनले चिनियाँ पर्यटकलाई रारा भ्रमणमा ल्याउन लागि नेपाल सरकारले पनि योजना बनाउनुपर्ने बताइन् । तिब्बतको सीमावर्ती क्षेत्र मुगुमकार्मारोङ गाउँपालिकास्थित डोल्फूमा निर्माणाधीन २ सय ६० किलोवाट क्षमताको नामलाङखोला जलविद्युत आयोजना र डोल्फुमै तामाखानी उत्खनन विषयमा पनि चासो दिन उनले चिनियाँ सरकारलाई आग्रह गरिन् ।

अर्थ वाणिज्य

लान्चौ–काठमाडौं कार्गोरेलका पूर्वाधार निर्माण तीव्र

- लक्ष्मी लम्साल

(बेइजिङ) - चीनले दक्षिण एसिया छिर्ने मालवाहक रेलका लागि लान्चौ–काठमाडौंमा पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । कान्सु प्रान्तको लान्चौ सहरको व्यापार प्रतिनिधि कार्यालय गत मेमा काठमाडौंमा स्थापना भइसकेको छ । लान्चौ अन्तर्राष्ट्रिय बन्दरगाह, क्षेत्रीय लगानी तथा विकास कम्पनी लिमिटेडका अध्यक्ष वेई स्युका अनुसार काठमाडौंमा मालवाहक रेल वितरण केन्द्र, एसेम्ब्ली सेन्टर, वायरहाउस, सीमापार पार्किङलगायत पूर्वाधार निर्माण गरिनेछन् ।
चीनले निर्माण गरिरहेका तीन मुख्य घरेलु सुक्खा बन्दरगाहमध्ये एक लान्चौ अन्तर्राष्ट्रिय बन्दरगाहले पछिल्ला वर्षहरूमा दक्षिण एसियाली अन्तर्राष्ट्रिय व्यापार च्यानल सुधारलाई तीव्रता दिएको छ र यसको कारण यहाँको उपभोक्ता बजार हो । दक्षिण एसियाली अन्तर्राष्ट्रिय कार्गो नेपालको काठमाडौं र पाकिस्तानको इस्लामावादमार्फत दक्षिण एसियाका ७ ठूला बजार भारत, पाकिस्तान र नेपालतर्फ खुले पनि परिपक्व हुन बाँकी छ । वेईका अनुसार भारत र पाकिस्तान गरी १.५७ बिलियन दक्षिण एसियाली उपभोक्तासँगको सम्पर्कलाई चीनले महत्त्व दिएको छ । काठमाडौंसँगै लान्चौ–इस्लामावाद कार्गो रेलपछि दक्षिण एसिया लक्षित चीनको अन्तर्राष्ट्रिय मालवाहक रेल विस्तारको कामले गति लिएको एक अधिकारीले बताए ।
अहिलेसम्म प्रभावकारी दक्षिण एसियाली रेल सिपिङमध्ये तुलनात्मक सहज लाइन लान्चौदेखि काठमाडौंतर्फ चलिरहेको छ । ३ वर्षअघि अर्थात् सन् २०१६ मा खुलेयता यसले ३०० कार्गोमार्फत १ लाख ८५ हजार टन सामग्री दक्षिण एसियाली बजारमा पठाएको छ । ओसारिएका सामग्रीमा मेसिनरी तथा उपकरण, अटो पार्ट्स तथा दैनिक आवश्यकताका वस्तु छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार कान्सु प्रान्तको चिङनिङ स्याउ, थ्यानश्वे प्याज र निर्माण सामग्री हजारौं दक्षिण एसियालीको घरमा पुगेका छन् । कान्सु अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाह व्यवस्थापन समितिका उपनिर्देशक लुओ कानले मुख्य अन्तर्राष्ट्रिय व्यापारिक च्यानलबारे जानकारी दिँदै केन्द्रीय एसिया, केन्द्रीय युरोप, दक्षिण एसिया र अन्तर्राष्ट्रिय सुक्खा तथा समुद्री मार्ग (सिंगापुर) लाई चीनले महत्त्वका साथ अघि बढाइरहेको बताए ।

 

अर्थ वाणिज्य

सुरुङमार्ग बन्ने खबरले उत्साह

नुवाकोट हुँदै काठमाडौं जोड्ने सुरुङमार्ग निर्माण भए राजधानी काठमाडौं छिट्टै पुग्नुका साथै व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवर्द्धन हुने नुवाकोट र रसुवावासीको विश्वास छ
- दिनेश रेग्मी,कृष्ण थापा
नुवाकोटस्थित झोर–छहरे सुरुङमार्ग बन्ने स्थान । तस्बिर ः कविन अधिकारी/कान्तिपुर

(काठमाडौं/नुवाकोट) - चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने खबरले स्थानीय बासिन्दा उत्साहित बनेका छन् । उनीहरूले सुरुङ मार्ग विकासको कोसेढुंगा हुने भएकाले प्राथमिकतामा राखेर निर्माण गर्नुपर्नेर् जोड दिए ।
सुरुङ मार्ग पस्ने र बाहिरिने भनिएका टोखाको झोर र नुवाकोटको छहरेमा शुक्रबार कान्तिपुर संवाददाता पुग्दा स्थानीयले सुखी व्यक्त गर्दै लामो समयदेखिको चर्चाले अब मूर्त रूप लिने आशा व्यक्त गरे । सुरुङ मार्गको प्रवेशद्वार टोखा नगरपालिका वडा नं १, झोरस्थित नर्जेको कुलो र गेलालबारीको खोल्सामा पर्ने वडाध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । ‘यही ठाउँमा तीन पटक चिनियाँ र नेपाली टोलीले आएर हेरेका हुन्,’ उनले कान्तिपुरलाई भने, ‘चिनियाँ राष्ट्रपति आएका बेला सम्झौता भएर सुरुङ मार्ग बन्छ भन्नेमा हामी ढुक्क छौं ।’
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गत भदौ २८ गते यही क्षेत्रमा बालमैत्री पार्क शिलान्यास गर्दा सुरुङ मार्ग निर्माण हुने बताएका थिए । त्यतिबेला प्रस्तावित सुरुङ मार्गको प्रवेशद्वारबाट करिब ६ सय मिटर पश्चिममा पर्ने बौडेश्वर (टोखा) झरना नजिकै बालमैत्री पार्क शिलान्यास भएको थियो । ‘सुरुङ मार्ग जतिसक्दो छिटो बनोस् भन्ने चाहेका छौं,’ टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले भने, ‘यो हाम्रो गौरवको विषय हो, डीपीआर बनाएर छिटो निर्माण थाल्नुपर्छ ।’ नगर प्रमुख अधिकारीले केरुङ राजमार्गका लागि यो छोटो दूरी र ऐतिहासिक बाटो भएकाले पनि टोखा–छहरे सुरुङ मार्गको ठाउँ उपयुक्त भएको बताए । ‘अहिलेसम्म यहाँ खासै केही विवाद पनि देखिएको छैन,’ उनले भने ।
प्रस्तावित सुरुङ मार्गको प्रवेशद्वार टोखास्थित झोर–काठमाडौं चक्रपथको सामाखुसी चोकबाट करिब साढे ७ किमि उत्तरमा छ । यो ठाउँ झोरस्थित बौडेश्वर माविबाट करिब आधा किमि उत्तर र टोखा–छहरे सडक खण्डबाट करिब आधा किमि दक्षिणमा पर्छ । स्थानीय व्यक्तिको जग्गा रहेको यो ठाउँमा अहिले खोल्सा, रूख, झाडी छ । आसपासमा खेत र पातलो संख्यामा घर छन् । ‘सुरुङ बनाउने भनेको ठाउँमा १०–१२ जनाको जग्गा पर्छ,’ स्थानीय बासिन्दा तथा बौडेश्वर माविका प्रधानाध्यापक उत्तम अधिकारीले भने, ‘टोखा–छहरे बाटो सुरु भएसँगै सुरुङ मार्ग बन्ने हल्ला थियो, अब साकार हुने आशामा छौं ।’
स्थानीय कपडा व्यवसायी प्रभुराम श्रेष्ठले ३ वर्ष पहिले नै आफूले यहाँ सुरुङ मार्ग निर्माण हुन्छ भन्ने सुन्दै आएको बताउँदै अब निर्माण हुन्छ भन्ने लागेको बताए । स्थानीय चिया पसले सानु अधिकारीले १५ वर्षअघि नै सुरुङ बनाउनेबारे सुनेको बताए । ‘अब त बन्ला नि,’ उनले भने ।
राजधानी छिट्टै
चीनको सीमा जोडिएको रसुवागढी नाकादेखि नुवाकोट हुँदै काठमाडौं जोड्ने सुरुङ मार्ग निर्माण भए व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवर्द्धन हुने र राजधानी काठमाडौं छिट्टै पुगिने नुवाकोट र रसुवावासी बताउँछन् । शिवपुरी गाउँपालिका–८ का खन्याचौरका स्थानीय किसान पशुपति न्यौपानेले भने, ‘सुरुङ मार्ग छिटो बने छोराछोरीलाई पढाउन कोठा लिएर काठमाडौंमा राख्नु पर्दैन । बिरामी भए छिट्टै अस्पताल पुगिन्छ । तरकारी काठमाडौंको बजारमा लान सजिलो हुन्छ ।’ सानो होटल र कपडा पसल चलाउँदै आएका लिखुगाउँपालिकाका ६ छहरेका राजाराम सिलवाल सुरुङ मार्ग निर्माणले व्यवसाय बढ्ने बताउँछन् । रसुवागढी हुँदै काठमाडौं छिचोल्ने सुरुङ मार्ग निर्माणले व्यापार व्यवसाय र कलकारखाना खुल्ने नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटाको बुझाइ छ । ‘सुरुङ बन्ने हल्लाले आर्थिक कारोबार बढेको छ,’ उनले भने । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले सुरुङ मार्ग निर्माणपछि ग्रामीण पर्यटनको विकास हुने विश्वास व्यक्त गरे ।
चीनको रेसुओपोर्ट र नेपालको रसुवाको सीमानाका रसुवागढी, स्याफ्रुबेसी, मैलुङ, नुवाकोट त्रिशूली, विदुर, गंगटे, ढिकुरे, छहरे, गुर्जेभन्ज्याङ, काठमाडौंको टोखासम्मको दूरी १ सय किमि छ । छहरेदेखि टोखा २७ किमि छ । उक्त सडक साँघुरो छ । सडक वर्षात्को समयमा भारवहन गाडीले गुड्दा बाटो भत्किएको छ । घुम्ती धेरै छन् । सडक डिभिजनका अनुसार रसुवागढी–बेत्रावती, छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमि सडक छोटिनेछ । बेत्रावती–सूर्यगढी गाउँपालिका ५ कल्लेरी हुँदै सुरुङ मार्ग निर्माण भए अझै सडक छोटो बन्ने सडक डिभिजनको दाबी छ । चीनले २०७१ मंसिर १५ मा नेपाल सीमा रसुवागढी पारी रेसुओपोर्ट खोलेर अन्तर्राष्ट्रिय नाका घोषणा गरेको हो । रेसुओपोर्टदेखि केरुङसम्मको दूरी २४ किमि छ ।
सुरुङमार्ग कति लामो ?
टोखा–छहरे सुरुङ मार्गको पूर्वसम्भाब्यता अध्ययनबाहेक अरू केही नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले जनाएका छन् । यसको दूरी कति हुने भन्ने पनि यकिन छैन । मन्त्रालय र विभागका अधिकारीहरूले अध्ययनकै क्रममा रहेकाले अहिले औपचारिक रूपमा भन्न नसकिने बताए । टोखा–छहरे सुरुङमार्गको दूरी ४ देखि ७ किमिसम्म हुन सक्ने मन्त्रालय र विभागका अधिकारीहरूको भनाइ छ । मन्त्रालयका एक अधिकारीले भने, ‘सुरुङ मार्ग आफैंमा जटिल संरचना हो, चौबिसै घण्टा बिजुली र स्वच्छ हावा चाहिन्छ । सुरक्षाको प्रबन्ध पनि उत्तिकै गर्नुपर्छ । यो सबै अध्ययन हुन बाँकी छ ।’
सडक विभागले निर्माण लागत बढे पनि दीर्घकालमा सुरुङ मार्ग सस्तो र समयको बचत हुन सक्ने भएकाले यसैमा जोड दिनुपर्ने जनाएको छ । विभागले विगतमा प्रारम्भिक अध्ययन गरेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा सम्भाब्यता अध्ययन गर्न कार्यक्रम र बजेट छुट्याएको जनाएको छ । छहरे–टोखा सुरुङ मार्गको निर्माण हुने विन्दु नुवाकोटको छहरेदेखि साढे ३ किमि दक्षिण पूर्व घट्टेखोलामा पर्छ । उक्त स्थान जंगलले ढाकेको छ । अलिमाथि २/३ घर छन् । त्योभन्दा माथि काफलडाँडा बस्ती छ । उक्त विन्दुमा चट्टानी खोल्सा छ । अलि तल खेत, बारी र बस्ती छन् । ३ किमि कटेपछि छहरे र थानसिङको मैदानी फाँट छ ।
विदुर सदरमुकामदेखि २० किमि दूरीमा प्रारम्भिक अध्ययन गरिएको उक्त विन्दुमा पुग्न सकिन्छ । छहरे–टोखा सुरुङ मार्गको नाम दिइए पनि सम्भाव्यता अध्ययन गरिएको ठाउँ शिवपुरी गाउँपालिका ८ नम्बर वडामा पर्छ ।

Page 15
खेलकुद

रञ्जनाको फुटबल मोह

चिया श्रमिकदेखि एपीएफकी कप्तानसम्म
- विप्लव भट्टराई

(इलाम) - सीमापारि दार्जिलिङको ओकाइटी चिया बगानमा आमासँगै हरियो चियापत्ति टिप्ने रञ्जना (पप्पु) दर्जीको फुटबलमोह गज्जब थियो । सानैमा बुवा गुमाएकी निम्न आयस्तरकी उनीसँगै स्कुलेजीवनमा नै चियाको मुना केलाउनुको विकल्प थिएन । केटीले फुटबल खेल्नु हुँदैन भन्ने मान्यता बोकेकै समाजमा हुर्किएकी रञ्जनाले मनोरन्जनका लागि १२ वर्षको उमेरदेखि फुटबल खेल्न थालिन् । सूर्योदय नगरपालिका ५ समालवुङमा जन्मिएर स्कुले जीवनदेखि नै फुटबलप्रति रुचि बढाएकी उनलाई अहिलेको स्थानमा पुग्छु भन्ने लागेको थिएन । तर गाउँबाट जिल्ला हुँदै महिला फुटबलको पावरहाउस मानिने तीन विभागीय टिममध्ये एपीएफ क्लबमा अनुबन्ध भएपछि भने उनलाई फुटबलले नयाँ जीवन दिनुका साथै उर्जा थप्यो ।
फुटबल खेल्ने उपयुक्त उमेर पार लगाउँदै गरेकी रञ्जनाको उद्देश्य चौथोपल्ट राष्ट्रिय टोलीमा स्थान बनाउने छ । सन् २०१०, ०११ र ०१८ मा राष्ट्रिय टिमबाट खेलेकी सेन्ट्रल डिफेन्डर रञ्जनालाई पुनः एकपल्ट साफ फुटबलमा नेपालको इज्जत बढाउने धोको छ । उनले यहाँसम्मको यात्रा गर्नेक्रममा भोगेका समस्या र संघर्ष भने कम प्रेरणादायी छैनन् । भारतको दार्जिलिङ सीमावर्ती उनको गाउँ फिक्कलबाट करिब २० किलोमिटर मात्र टाढा । यातायातको सहज पहुँच पनि पुगेकै ठाउँ हो त्यो । तर उनको फुटबल खेल्ने चाहनामा साथ दिनेहरू कमै भेटिन्थे । ‘घरछेउमा सानो भए पनि ग्राउन्ड थियो तर खेल्ने साथी थिएनन्,’ उनले फुटबल सुरु गर्दाको क्षण सम्झिइन्, ‘केटी साथी नभएकाले केटासँगै खेल्ने र प्रतियोगितामा सहभागितासमेत जनाउने गरेकी थिएँ ।’
केटासँग फुटबल खेल्दा अरुले जे जसो भने पनि आमाले कहिल्यै रोकिनन् । १० वर्षको बालापनमा नै बावु गुमाएकी उनलाई आमाले बनिबुतो गरेर भए पनि इच्छा पूरा गर्न सहयोग गरेको भुल्न सक्दिनन् । १२–१३ वर्षको उमेरमा बिहान ४ बजे आमाले बनाइदिएको ५ केजी बालुवा भरेको ब्याग बोकेर ५ किलोमिटरभन्दा परसम्म दौडन्थिन् । निरन्तर अभ्यास गरे पनि जिल्लामा महिला फुटबल प्रतियोगिता नहुँदा भने उनी निराश हुन्थिन् । १५ वर्ष पुग्दा नपुग्दै उनी पहिलोपल्ट खेलाडीको रूपमा मैदान उत्रेर उपाधि जितिन् । ‘फिक्कलको पान्दाममा महिला फुटबल हुँदै गरेको थाहा पाएपछि अन्तुकी कला राईको टिमबाट पहिलोपल्ट महिला प्रतियोगितामा भाग लिएँ,’ उनले स्मरण गरिन्, ‘स्ट्राइकरको भूमिकामा टिमलाई जित दिलाउनुका साथै उत्कृष्ट खेलाडी घोषित हुँदा फुटबलमा केही गर्न सकिन्छ कि भन्ने हिम्मत जाग्यो ।’
त्यसपछि हरेकजसो प्रतियोगितामा उनको उपस्थिति नियमित रह्यो । जिल्लाको प्रतियोगितामा यस्तो छाप बनाइन् कि उनको टिमविरुद्ध अरु खेल्नै डराउँथे । विभिन्न प्रतियोगितामा पप्पुको खेलकौशल नजर गरिरहेका तत्कालीन फुटबल प्रशिक्षक दर्शन भक्तराजले उनलाई जिल्ला छनोटमा स्ट्राइकरको भूमिका दिए । टिममा पर्नेबित्तिकै सन् २००८ मा १० औं राष्ट्रिय महिला फुटबल महेन्द्रनगरमा हुने निश्चित भएपछि उनी कडा मिहिनेत गर्न थालिन् ।
एपीएफ, आर्मी र पुलिसजस्ता विभागीय टिमसम्मिलित प्रतियोगितामा पीएलए, रौतहट, काठमाडौं जस्ता बलिया टोलीलाई हराउँदै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको थियो इलामले । अनु लामा, जमुना गुरुङ, चन्द्रा राई, प्रमिला राई, अम्बिका दाहालजस्ता नियमित प्रशिक्षण गरिरहेका खेलाडीसम्मिलित एपीएफसँग ६–० ले पराजित बन्दै इलाम टिम उपविजेतामा सीमित भयो । तर रञ्जनाको खेलको सबैतिर चर्चा भयो । उनी भन्छिन्, ‘फराकिलो हार बेहोर्‍यौं तर मेरो प्रदर्शन धेरैले मन पराएको पाएँ ।’ महेन्द्रनगरमा उत्कृष्ट खेल पस्कँदै टिमलाई उपविजेता बनाएपछि उनीमाथि विभाागीय टिमको नजर पर्न थाल्यो । तत्कालीन पीएलए टिमले त आर्कषक सुविधा दिने भन्दै बोलायो । २०६५ चैत २४ देखि ३० सम्म काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदको फाइनलमा अनु लामा र जमुना गुरुङले गोल गरेपछि उनीसम्मिलित पूर्वाञ्चल टिम ४–० ले एपीएफसँग पराजित बन्यो । पूर्वाञ्चल फाइनल पुगेसँगै एपीएफले अनुबन्धनका लागि रञ्जनालाई प्रस्ताव गर्‍यो । जागिरसमेत पाइने भएपछि उनी आफ्नो भविष्यका लागि एपीएफसँग अनुबन्ध भइन् ।
दक्षिण एसियाली खेलकुदको पहिलोपल्ट महिला फुटबल समावेश हुने भएपछि नेपालले समेत आफ्नो टिम तयार गर्न सुरु गर्‍यो । १० वर्षसम्म निस्क्रिय रहेको नेपाली महिला टिम पुनः जुर्मुरायो । सोही बेला रञ्जना राष्ट्रिय टिममा पर्न सफल भइन् । ‘जिल्ला टिम र पूर्वाञ्चल टिममा हुँदाखेरि नै देखाएको प्रदर्शनले होला एपीएफबाट डेब्युसमेत नगरी राष्ट्रिय टिममा परें,’ उनले सुनाइन् । फेब्रुअरी २, २०१० उनको जीवनकै अमूल्य क्षण बन्यो । पहिलोपल्ट उनले नेपाली राष्ट्रिय टोलीको जर्सी लगाएर मैदान छिर्ने अवसर पाइन् । श्रीलंकाविरुद्धको त्यो खेलमा नेपालले स्पष्ट अग्रता बनाएको बेला उनी टोलीकी भरपर्दी स्ट्राइकर अनु लामाको स्थानमा मैदान छिर्दै राष्ट्रिय टोलीमा डेब्यु गरिन् । डेब्यु क्षण सम्झँदै उनी भन्छिन्, ‘हामीले स्पष्ट जित निकालेका थियौं त्यसैले मैदान छिर्दा खासै डर लागेन ।’ त्यो खेलमा नेपालले ८–१ ले जित निकालेको थियो । समूह चरणको अन्तिम खेलमा पाकिस्तानविरुद्ध अनुकै स्थानमा प्रवेश गर्दै एक गोल गरेपछि नेपालले ७–० ले जित निकालेको रञ्जना बताउँछिन् । विजेता बनेसँगै उनको गृहजिल्लामा भव्य सम्मान भयो । साथै एपीएफले उनीसहित ७ जनालाई बढुवासमेत गर्‍यो ।
दोस्रो साफ महिला च्याम्पियनसिपमा पनि खेलिन् । तेस्रो साफ २०१४ मा भने उनी सहभागी हुन पाइनन् । त्यो फुटबल करिअरमै उनलाई अमिलो लागेको क्षण थियो । चौथो साफमा पनि उनले सहभागिता जनाइन् । ६ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै यसै वर्ष उनी म्यानमारमा भएको सन् २०२० मा हुने ओलम्पिकका लागि एसियाली छनोटको २० सदस्यीय नेपाली टोलीमा परिन् तर मैदान उत्रन पाइनन् ।
स्ट्राइकरबाट सुरु उनको फुटबल यात्रा अहिले सेन्ट्रल डिफेन्समा पुगेको छ । होचो कदकी उनी क्लब र राष्ट्रिय टिममा डिफेन्सिङ लाइन सम्हाल्छिन् । ओलम्पिकको छनोटको दोस्रो चरण पुग्नु सबैभन्दा खुसीको क्षण लागेको उनी सुनाउँछिन् । २९ वर्षीया उनले सन् २०१८ जनवरीदेखि आठौ राष्ट्रिय खेलकुदअघिसम्म विभागीय टिमको नेतृत्व सम्हाल्ने अवसर पाइन् । तत्कालीन कप्तान सजना राना मगर वैदेशिक रोजगारीका लागि दुबई गएपछि टिम सम्हाल्ने जिम्मा रञ्जनाको काँधमा आयो । तर लामो समयको इन्ज्युरीपछि अनु लामा टिममा कम्ब्याक भएपछि उनले कप्तानी छाडेकी हुन् ।
आठ वर्ष एपीएफ खेलाडीको रूपमा रहेकी उनको कप्तानी डेब्युसमेत सनसनीपूर्ण थियो । १६ औं राष्ट्रिय महिला फुटबल २०७४ को उपाधि एपीएफले जित्दा उनकै कप्तानी थियो ।
त्यसलगत्तै फागुनमा मैत्रीपूर्ण खेलका लागि हङकङ पुगेको एपीएफको टोलीको नेतृत्व पनि उनले गरेकी छन् । फिफा वरीयताक्रममा नेपालभन्दा माथि रहेको हङकङको टोलीलाई एपीएफले ३–१ ले हराएको थियो ।
सरकारले महिला तथा पुरुष फुटबललाई हेर्ने दृष्टिकोण परिर्वतन नभएसम्म फुटबलले गति लिन नसक्ने अरु महिला फुटबलर जस्तै उनको पनि अनुभव छ । ‘पहिलाभन्दा अहिले केही सुधार छ तर महिला टिमलाई अझै अवसर कमै छ,’ उनले भनिन् ।

खेलकुद

केशवको बहादुरी इनिङ्स

- एएफपी
भारतविरुद्धको दोस्रो टेस्टमा शनिबार अर्धशतक पूरा गरेपछि दक्षिण अफ्रिकाका केशव महाराज । तस्बिर ः एपी

 

पुने – दक्षिण अफ्रिकाका केशव महाराजले चोटबाट गुज्रँदै शनिबार बहादुरीपूर्ण ब्याटिङ गरेपछि भारत दोस्रो टेस्टमा जितका लागि प्रतीक्षा गर्न बाध्य भएको छ ।
दक्षिण अफ्रिका आफ्नो पहिलो इनिङ्समा २ सय ७५ रन बनाएर अलआउट भयो । पाहुना टिम फलोअन बनाउनबाट पनि अझै १ सय ७५ रनले पछाडि रह्यो । केशवलाई भेर्नोन फिलान्डरले पनि बलियो साथ दिए । अन्यथा भारतको प्रदर्शनले टेस्ट तीन दिनमै टुंगिनेछ छाँट देखिएको थियो ।
काँधको चोटबाट गुज्रिरहेका केशवले ७२ रन बनाए । उनले फिलान्डरसँग नवौं विकेटमा १ सय ९ रनको साझेदारी गरे । फिलान्डर ४४ रन बनाएर नआाउट छन् । उनीहरूले ४३.१ ओभर ठोस ब्याटिङ गर्दै भारतीय बलिङ आक्रमणलाई निराश पारेका थिए । ‘म निकै पीडा महसुस गरिरहेको थिएँ । मलाई विश्वास छ, म अर्को टेस्टसम्म तयार हुनेछु ।’ टिममा भने उनले बायाँहाते बलरका रूपमा स्थान पाएका हुन् ।
उनले थपे, ‘हाम्रो योजना चिया समयपछि पनि ब्याटिङ गरिरहने थियो । यसक्रममा फिलान्डरले मलाई राम्रो साथ दिए । चोटका बावजुत पनि सकारात्मक भएर खेल्न सक्यो भने ठीकै हुन्छ । लगातार खेलिरहने हो भने खराब बल पनि भेटिन्छ ।’
रविचन्द्रन अश्विनले दसौं विकेटको साझेदारी तोडे । दिनको अन्तिम ओभरमा उनले केशवको विकेट लिए । लगत्तै उनले कागिसो रबाडालाई पनि आउट पारे र दक्षिण अफ्रिकी पहिलो इनिङ्समा पूर्णविराम लाग्यो ।
अश्विनले ६९ रन खर्चेर ४ विकेट लिए । भारतले पहिलो इनिङ्समा ५ विकेट गुमाएर ६ सय १ रन बनाएको थियो । अब उसले आइतबार चौथो दिनको खेल सुरु गर्दा दक्षिण अफ्रिकालाई फलोअनका लागि बाध्य पार्ने हो वा होइन, त्यसको निर्णय गर्नेछ । दक्षिण अफ्रिका अझै ३ सय २६ रनले पछाडि छ । दक्षिण अफ्रिकाले तेस्रो दिनको खेल भने ३ विकेट गुमाएर ३६ रन रनबाट अगाडि खेल्न सुरु गरेको थियो । अश्विनकै बलमा कप्तान फाफ डु फ्लेसिस आउट भए ।
त्यति बेला दक्षिण अफ्रिकाले १ सय ६२ रन बनाउँदासम्म १ सय ६२ रन मात्र बनाएको थियो । शुक्रबारको खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएका केवशले त्यसयता फिलान्डरसँग मिलेर टिमको स्थिति सम्हालेका थिए । केशवको यसअघि व्यक्तिगत उच्च स्कोर ४५ रन रहेको थियो । अश्विनको बलमा चौका प्रहार गर्दै उनले आफ्नो अर्धशतक पूरा गरे र यसक्रममा दर्शकले पनि उनको प्रशंसा गर्दै अभिवादन गरेको थियो ।
पेस बलर रहेका फिलान्डरले पनि आफ्नो ब्याटिङ कला प्रदर्शन गरे । उनले १ सय ९२ बलको धैर्यपूर्वक सामना गरे, तर अन्त्यमा साझेदार साथी पाएनन् । यसअघि मोहम्मद सामीले नाइट वाचम्यान रहेका एनरिच नोरटेजेलाई आउट पार्दै दक्षिण अफ्रिकाको पतन सुरु गरेका थिए । थेनिस डी ब्रुयेन बलर उमेश यादवको बलमा आउट हुँदा टिमले ५३ रनमा ५ विकेट गुमाएर दक्षिण अफ्रिका दयनीय स्थिति पुगेको थियो । क्विक्टन डी ककले फ्लेसिससँग मिलेर चौथो विकेटका लागि ७५ रनको साभेदारी गरेर टिमलाई उकास्ने प्रयास गरेका थिए ।

खेलकुद

दुई जुडो खेलाडी मोरक्कोतर्फ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मोरक्कोमा हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालका दुई महिलो जुडो खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अक्टोबर १६ देखि २० सम्म हुने विश्व च्याम्पियनसिपमा सोनिया भट्ट र मनिता श्रेष्ठ प्रधानले भाग लिने छन् । मनिताले ५६ केजीमुनि र सोनियाले ४८ केजीमुनि तौलसमूहमा प्रतिस्धर्पा गर्नेछिन् । प्रशिक्षकमा चन्द्रकुमार डंगोल र व्यवस्थापकमा लक्ष्मीरत्न तुलाधर छन् ।
विश्व च्याम्पियनसिपमा ८८ राष्ट्रका ३ सय २१ पुरुष र २ सय ३६ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्रचार्यले जानकारी दिए ।
मंसिरमा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको रूपमा लिइएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले बताए । चार सदस्यीय नेपाली टोलीलाई शनिबार राखेप सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरे ।

खेलकुद

पहाडमा बढ्दै ब्याडमिन्टन क्रेज

- हरि गौतम
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ मठमा ब्याडमिन्टन खेल्दै किशोर । तस्बिर ः हरि/कान्तिपुर

(रुकुम पश्चिम) - मुसीकोट नगरपालिका–१ का १४ वर्षे सुजल गिरी दसैं विदा ब्याडमिन्टन खेलेर कटाउँदै छन् । घरछेवैमा बनाइएको ब्याडमिन्टन कोर्टमा उनी हरेक बिहान पुग्छन् र पालो कुरेरै खेल्छन् । कक्षा ८ मै अध्ययनरत उनकै साथी विपिन देवकोटाको दसैं विदा पनि ब्याडमिन्टन कोर्टमै सकिँदैछ । उनले दसैंको गृहकार्य हतारहतार सकेर विद्यालय नखुलुञ्जेल ब्याडमिन्टन खेल्ने योजना बनाएका छन् ।
उनीहरू मात्रै होइनन्, मुसीकोट नगरपालिका–१ का धेरै किशोरको ब्याडमिन्टनप्रति आकर्षण बढेको छ । ‘घरवरपर जता पुगे पनि ब्याडमिन्टन खेल्ने ठाउँ छन्, मैले पनि रहर लागेर ब्याड खेल्न सुरु गरें,’ सुजलले भने, ‘अब बिदा र फुर्सदको समय ब्याड खेलेरै सदुपयोग गर्ने योजना छ ।’ उनले विद्यालय खुलेपछि पनि समय मिलाएर दिनमा एक पटक अनिवार्य ब्याडमिन्टन खेल्ने योजना बनाएको सुनाए ।
किशोर मात्रै होइन युवा र वयस्कको पनि ब्याडमिन्टनप्रति कम आकर्षण छैन । एक वर्षको अवधिमा जिल्लाका प्रायः गाउँमा ब्याडमिन्टन कोर्ट बनेका छन् । कोर्ट आसपासका हरेक घरबाट ब्याटमिन्टन खेल्नेहरू बढिरहेका छन् । ‘पहिले सदरमुकाम खलंगामा दुइटा मात्रै ब्याडमिन्टन कोर्ट थिए, कहिले बह्राटाकुरा र कहिले प्रहरी कार्यालयमा ब्याडमिन्टन खेल्थ्यौं,’ खेलाडी खिमबहादुर केसीले भने, ‘पछिल्लो एक वर्षको अवधिमा जहाँ पुगे पनि ब्याडमिन्टन कोर्ट बनेका छन्, खेल्नेको संख्या पनि बढिरहेको छ ।’ उनले ब्याडमिन्टनप्रति सबैको आकर्षण बढिरहेको सुनाए ।
पछिल्लो समय स–साना मेला, महोत्सव र जात्रामा पनि ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न थालिएको छ । क्रेज बढ्दै गएपछि जिल्ला ब्याडमिन्टन संघले ५० हजार रुपैयाँ राशिको प्रतियोगिता नै सुरु गरेको छ । गत माघ २० देखि २३ सम्म प्रतियोगिताको पहिलो संस्करण भएको थियो । दोस्रो संस्करण गर्ने तयारी भइरहेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढामगरले बताए । ‘पछिल्लो समय खेलप्रति बढेको आकर्षणलाई बढावा दिन प्रतियोगिता थालेका हौं,’ उनले भने, ‘प्रतियोगिताले ब्याडमिन्टनप्रतिको आकर्षण झन बढेको छ ।’ उनले जिल्लाबाहिरका खेलाडी सहभागी बनाएर यस वर्ष प्रतियोगितालाई थप व्यवस्थित बनाइने जनाए । उनका अनुसार संघले नै बेला बेलामा स–साना जिल्लास्तरका प्रतियोगिता पनि गराउने गरेको छ । आकर्षण बढ्दै गए पनि स्थानीय सरकारले भने प्राथमिकता नदिएको उनको गुनासो छ ।

Page 16
खेलकुद

२ घण्टा कममा म्याराथन पूरा

ॅसुपर ह्युमन’ केन्याका धावक एलिउड किपचोगेल
- एएफपी
पेसमेकरका रुपमा रहेका खेलाडी साथ एलिउड किपचोगे (सेतो जर्सी) ।

 

भियाना – केन्याका एलिउड किपचोगेले शनिबार इतिहास कायम गरेका छन् । अस्ट्रियाको विशाल भियाना पार्कमा उनले म्याराथनमा दुई घण्टाको समयसीमा तोडेर करिअरकै ‘सर्वश्रेष्ठ क्षण’ को आनन्द उठाएका छन् । १ घन्टा ५९ मिनेट ४०.२ सेकेन्डको टाइमिङसाथ यी ओलम्पिक च्याम्पियनले २ घण्टाभन्दा कम समयमा म्याराथन कोर्स पूरा गर्न सम्भव बनाइदिए ।
‘म आजको सबैभन्दा खुसी व्यक्ति हुँ । मैले सबैको दिमागका कुनै पनि मानिसमा सीमितता हुँदैन भनेर सन्देश दिएको छु,’ द इनेओस १ः५९ च्यालेन्ज नाम दिइएको रेस पूरा गरेपछि किपचोगेले भने । उनी भविष्यका धावकहरूले पनि आफ्नो पदचाप पछ्याउने अपेक्षा गर्छन् । ‘पहिलो किलोमिटरदेखि नै मैले सहज महसुस गरिरहेको थिएँ । मैले पछिल्लो साढे ४ महिनादेखि यसको तयारी गरिरहेको थिएँ । त्यो भन्दा पनि माथि मैले २ घण्टाभन्दा कम समयमा म्याराथन पूरा गर्ने दृढ संकल्प लिएको थिएँ,’ उनले थपे ।
सेप्टेम्बर १६, २०१८ मा भएको बर्लिन म्याराथन २ घण्टा १ मिनेट ३९ सेकेन्डमा पूरा गरेपछि ३४ वर्षीय किपचोगेले विश्व कीर्तिमान कायम गरेका थिए । उनलाई
दौडका क्रममा ४१ पेसमेकर धावकले सहज बनाएको थियो । उनको अगाडि रहेको कारले गति निर्धारण गरिरहेको थियो । किपचोगेले २ वर्षअघि इटलीको मोन्जामा पनि यही लक्ष्यका लागि असफल प्रयत्न गरेका थिए ।
उनले नियमित रुपमा प्रति किलोमिटर २ मिनेट ५० सेकेन्डको समय लिएका थिए । रेस पूरा गर्दै गर्दा उनको अनुहारमा असीमित मुस्कान देखिएको थियो । रेस पूरा गरेपछि उनले भनिहाले, ‘मेरो जीवनकै सबैभन्दा उत्कृष्ठ क्षण’
किपचोगेको यो रेसका लागि बेलायती कम्पनी इनेओसले मुख्य प्रायोजन गरेको थियो । कम्पनीका खर्वपति मालिक जिम र्‍याटफ्लिकको व्यक्तिगत रुचिका कारण यो सम्भव भएको थियो । ‘त्यो अन्तिम किलोमिटरले प्रस्ट पारेको छ कि उनी वास्तवमै ‘सुपर ह्युमन’ हुन्,’ र्‍याटफ्लिकले भने । उनी आफैं आइरनम्यान ट्रायथलनका खेलाडी हुन् । जुन तरिकाबाट यो रेसको आयोजना भएको छ, त्यसै कारणले विश्व एथलेटिक्स महासंघ (आईएएएफ) ले यसलाई विश्व कीर्तिमानको मान्यता दिने छैन । दौडको रुट अनुकूल गरी मिलाइएको थियो । मोडहरूमा भिरालो गरी मिलाइएको थियो, जसले समयको बचत गर्थ्यो भने चोटको सम्भावना पनि कम गर्थ्यो । ४२.१९५ किलोमिटरसम्म नै उनलाई पेसमेकरले साथ दिएको थियो । उनीसँग १५ सय मिटर ओलम्पिक च्याम्पियन म्याथ्यु सेन्ट्रोबीच र पूर्व विश्व च्याम्पियन बर्नाड लागट पनि दौडिएका थिए ।
रेसभर उनलाई समर्थकहरूले हौसला बढाइरहेका थिए । नैरोबीका ३३ वर्षीय विलियम मागाची पनि आफ्ना देशका धावकलाई समर्थन गर्न अस्ट्रिया पुगेका थिए । ‘यो वास्तवमै आश्चर्यजनक छ । किनभने उनी एक सुपर ह्युमन हुन् । सकारात्मक सोचले नै उनले असम्भवलाई सम्भव बनाइदिए,’ उनले भने, ‘यो कीर्तिमानी क्षण हो । मेरो जीवनकालमा यस्तो कहिल्यै देखेको थिइनँ र भविष्यमा पनि देख्न पाउँदिन होला । यसर्थ म भाग्यमानी रहें ।’


विश्वभरका समर्थक उनको दौडको प्रतीक्षामा थिए । यो म्याराथनलाई युट्युब र थुप्रै टेलिभिजन च्यालनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । पश्चिम केन्यास्थित केपचोगेको घरेलु सहर एल्डोरेटमा ठूलो स्क्रिनमा प्रत्यक्ष प्रसारण देखाइएको थियो । जहाँ उनका परिवारका सदस्यले पनि हेरेका थिए । उल्लेख्य समर्थकसहित उनकी आमा जानेट रोटिचले पनि दौड हेरेकी थिइन् । ‘म खुसी छु किनभने उसले जित्यो । मलाई र केन्याली जनतालाई खुसी दिएकोमा मेरो छोराप्रति म अनुग्रहित छु,’ उनले भनिन् ।
केन्याका राष्ट्रपति उहुरु केन्याट्टाले पनि ट्वीटरमार्फत केपचोगेलाई बधाई दिएका छन् । ‘तपाईले यसलाई पूरा गर्नुभयो र इतिहास रच्न सक्नुभयो । यो जितले सम्पूर्ण केन्याली जनता गौरवान्वित भएका छन् । यसले केन्याका भावी पुस्ताका लागि पनि प्रेरणा थप्नेछ,’ उनले ट्वीट गरेका छन् ।
किपचोगेले सन् २०१७ को मार्चमा पनि असफल प्रयास गरेका थिए । इटालीको मोन्जा नेसनल अटोड्रोम रेसिङ सर्किटमा उनले २ घण्टा २५ सेकेन्डको टाइमिङ निकालेका थिए । लामो दूरीको दौडको विश्व कीर्तिमान पछिल्लो १६ वर्षयता केन्या र इथियोपियाका घावकहरूको कब्जामा छ । ट्र्याकमा यी दुई देशका धावकहरूबीच कडा प्रतिस्पर्धा हुने गरेको छ । गत महिना सम्पन्न बर्लिन म्याराथनमा किपचोगेको विश्व कीर्तिमान तोड्ने प्रयासमा इथियोपियाका केनसिसा बेकेले मात्र २ सेकेन्डले पछि परेका थिए । उनले २ घण्टा १ मिनेट ४१ सेकेन्डको टाइमिङ निकालेका थिए ।

खेलकुद

पाल्पाली लिजेन्ड्स विजयी

- कान्तिपुर संवाददाता

रूपन्देही (कास)– पाल्पाली लिजेन्ड्सको जितसँगै शुक्रबार तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करण सुरु भएको छ । उद्घाटन खेलमा पाल्पालीले सुपर ११ भैरहव्लााई ४ विकेटले हरायो । नवजीवन खेल मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको भैरहवाले सबै विकेट गुमाई १ सय ३६ रन बनायो । जितनिम्ति १ सय ३७ रनको लक्ष्य पाएका पाल्पालीले ६ विकेट गुमाएर त्यसलाई पार गरेको थियो । टोलीको जितमा सुवेन्दु पाण्डेले १४ बलमा ३२ र विक्रम सोबले ३६ बलमा ४८ रनको योगदान दिएका थिए । विक्रम म्यान अफ द म्याच घोषित भए । आइतबार तिनाउ टाइटन्सले रेन्बो ज्ञानोदय गोल्डेन्स तथा सियारी राइनोजले पाल्पाली लिजेन्डससँग खेल्नेछन् ।
सर्वोत्तम सिमेन्ट टीपीएल–३ मा १० टिम सहभागीे छन् । विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

खेलकुद

इंग्ल्यान्डको दुर्लभ हार

- एएफपी
लिस्बोनमा युरो छनोटअन्तर्गत लक्जेम्बर्गविरुद्धको खेलमा बाइसाइकल किक प्रहार गर्दै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । उनले यस खेलमार्फत ६९९ गोल पूरा गरेका छन् । तस्बिर ः एएफपी

 

पेरिस – इंग्ल्यान्डले शुक्रबार युरो २०२० को छनोटमा चेक गणतन्त्रको हातबाट २–१ को हार बेहोरेपछि टोलीको छनोट यात्रा लम्बिएको छ ।
क्रिस्टियानो रोनाल्डोले भने आफ्नो ६ सय ९९ औं गोल गरेका छन् । त्यसकै मदतमा पोर्चुगलले लक्जेम्बर्गमाथि सजिलो जित निकाल्यो ।
ह्यारी केनको पेनाल्टी गोलको मदतमा इंग्ल्यान्डले सुरुमै अग्रता लिएको थियो । यो छनोटमा उनको सातौं व्यक्तिगत गोल हो । तर यसअघि रिभर्ज फिक्सरमा ५–० को हार खाएको चेक टिमका लागि जाकुब ब्राबेकले बराबरी गोल गरे । खेल सकिन ५ मिनेटअगाडि जेडनेक ओन्ड्रासेकले निर्णायक गोल गरेका थिए । खेलपछि इंग्ल्यान्ड व्यवस्थापक गारेथ साउथगेटले भने, ‘आज हाम्रो प्रदर्शन जितका लागि पर्याप्त थिएन ।’


इंग्ल्यान्ड अन्तिम पटक सन्
२०१० को युरो छनोटमा फराजित रहेको थियो । त्यति बेला युत्रेनको हातबाट इंग्ल्यान्डले माथ खाएको हो । पराजित रहे पनि इंग्ल्यान्ड आफ्नो समूहको शीर्षस्थानमा छ । अर्को खलमा विश्व च्याम्पियन फ्रान्सले ओलिभर जिरुडको निर्णायक गोलमा आइसल्यान्डलाई १–० ले हरायो । फ्रान्स आफ्नो समूहमा टर्कीसँगै शीर्षस्थानमा छ । युभेन्ट्स स्टार रोनाल्डोले पोर्चुगलका आफ्नो ९४ औं अन्तर्राष्ट्रिय गोल गरेर टिमलाई लक्जेम्बर्गमाथि ३–० ले विजयी गराए ।
बर्नार्डो सिल्भाको गोलमा अग्रता लिएको पोर्चुगलका लागि रोनाल्डोले ६५ औं मिनेटमा दोस्रो गोल थपे । तेस्रो गोल गोनकालो गुडेसको नाममा रह्यो ।

Page 17
कोपिला

लघु महाचिललाई ट्रान्समिटर

 

लुम्बिनीमा केही दिनअघि सिकारी चरा मानिने लघु महाचिलको शरीरमा ट्रान्समिटर जोडिएको छ । अंग्रेजीमा ‘इन्डियन स्पोटेड इगल’ भनिने लघु महाचिलको रहनसहन र बासस्थान अध्ययन गर्न सोलार ट्रान्समिटर राखिएको हो ।
यो प्रजातिको महाचिलको अहिलेसम्म अध्ययन भएको छैन । लुम्बिनी क्षेत्रको विश्व शान्ति स्तूप आसपास दुई महाचिललाई नियन्त्रणमा लिएर सिकारी चरामा विद्यावारिधि गरेका डा. तुल्सी सुवेदी र चराविद् सन्देश गुरुङले तिनको शरीरमा ट्रान्समिटर राखेका हुन् । यी चरा समातेपछि उनीहरूले सुरुमा खुट्टाको नाप लिए । औंला र नग्रांको लम्बाइ हेरे । मुखको ग्याप (चौडाइ) नापे । पखेटाको लम्बाइ–चौडाइ लिए । शरीरको शिरदेखि पुच्छरसम्मका सबै भागको जानकारी टिपे । पुच्छरको पखेटाको लम्बाइ नापे ।



जुम्रा, सुलसुले र प्यारासाइट भए/नभएको हेरे । अन्त्यमा तौल लिए । करिब आधा घन्टा यी दुई चराको शरीरका भागहरूको अध्ययनमा बिताए । त्यसपछि १५ मिनेट लगाएर सोलार ट्रान्समिटर जडान गरेका हुन् । छातीमा ‘विक लिंक’ राखेर हार्नेस फित्ताले स्याट्लाइट ट्रान्समिटर ढाडमा बाँधिएको चराविद् डा. सुवेदीले बताए । ‘यसरी राखेका छौं कि, महाचिललाई कुनै अप्ठ्यारो हुँदैन,’ उनले भने । सोलार शक्तिले चल्ने ट्रान्समिटरमा जडान गरिएको जीपीएस सिस्टमले चिलको गति, पुगेको स्थान र गतिविधिबारे जानकारी गराउने छ । ‘४० ग्राम तौलको ट्रान्समिटरको सहयोगले त्यसका गतिविधि सबै थाहा हुन्छ,’ उनले भने, ‘आनीबानी, रहनसहन र बासस्थनबारे विश्वको जुनसुकै ठाउँमा पुगे पनि जानकारी प्राप्त हुने छ ।’ मोबाइल टावरको सिग्नल देखिने ठाउँ संसारभरि जहाँ पुगे पनि काठमाडौंमा बसेर तिनको गतिविधि नियाल्न सकिने चराविद् गुरुङले बताए । लुम्बिनीमा ट्रान्समिटर जडान गरिएका महाचिलमध्ये एउटाको नाम बुद्ध र अर्कोको राहुल राखिएको छ । बुद्ध १४ सय ४० ग्राम र राहुल १४ सय १० ग्राम तौलका छन् । बुद्धस्थलमा समातिएकाले तिनको नाम बुद्ध र राहुल यस्तो राखिएको हो । यसैगरी, एउटा ओथारो बसेको महाचिललाई क्यामेरा ट्र्यापिङ गरिएको छ । ओथरो बेलाका सबै व्यवहार र गतिविधि थाहा पाउन त्यस्तो गरिएको हो । रूखमै गुडँनजिकै ट्र्यापिङ गरिएको हो ।

कस्ता छन् लघु महाचिल ?

- चिलका २२ प्रजाति छन् । नेपालमा महाचिल प्रजातिअन्तर्गत जीवाहार, गोमायु, राज, रणमत्त, सुपर्ण र लघु महाचिल गरी ६ प्रजाति छन् । जसमध्ये लघु महाचिल सबैभन्दा सानो हो ।
- वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार ६ प्रकारका महाचिलमध्ये लघु महाचिलको अहिलेसम्म अध्ययन भएको छैन । लघु महाचिल तराईको रैथाने चरा हो । ६ प्रकारका महाचिलमध्ये यसले मात्र तराईमा बच्चा कोरल्छ ।
- महाचिलमध्ये यो सबैभन्दा सुन्दर मानिन्छ । तौल १ देखि ५ किलोसम्म हुन्छ । शरीर मनमोहक र आकर्षक देखिन्छ । त्यसैले धेरैले मन पराउँछन् ।
- लघु महाचिल लोपोन्मुख संकटापन्न चराको सूचीमा छ । यो महाचिल भारत, पाकिस्तान, भियतनाम, बंगलादेश र नेपालमा मात्र पाइएको रेकर्ड छ ।


- आहारा विनाशका कारण लघु महाचिलको दिनानुदिन संकटमा पर्दै गएको हो । जमिन खण्डीकरण, वन विनाश र बढ्दो विषादी प्रयोगका कारण लघु महाचिलको बासस्थान नै हराउँदै गएको बताइन्छ ।
- लघु महाचिलको सिकारमा ७० प्रतिशत बढी मुसा पर्छन् । सुगा, भँगेरा, पानीचरा लगायत छन् । यी सबै जीवले खाद्यान्नबाली नोक्सान गर्ने/खाने भएकाले लघुमहाचिललाई किसानको साथी पनि भनिन्छ ।
- सन् २०१६ प्रकाशित तथ्यांकअनुसार नेपालमा लघु महाचिल ३० देखि ७० को संख्यामा छन् ।
- नेपालमा सबैभन्दा कम राज महाचिल छन् । त्यसको संख्या करिब १० मात्र रहेको अनुमान छ । रणमत्त महाचिल १० देखि ३५ र जीवाहार महाचिल २० देखि सय संख्यामा छन् । सुपर्ण महाचिल सय देखि दुई सय र गोमायु महाचिल १० हजारदेखि २० हजार वटा रहेको अनुमान छ ।

 

यसरी समातियो

चरा समात्नु राम्रो मानिँदैन । कुनै पनि चरा मार्न पाइँदैन । मारे दण्ड सजायको भागिदार बन्नुपर्छ । पक्रनुसमेत हुँदैन भन्ने मान्यता छ । तर अध्ययनका लागि भने पक्राउ गर्नैपर्छ । समात्न वाल च्याट्री (पासो) थापिएको थियो । पातला फलामले सानो घरजस्तो बनाइएको थियो । त्यसमा कुखुराका चल्ला लगेर राखिएको थियो । चल्लाको लोभमा चिल आउँथे । पासोमा पर्थे । पहिलो पटक ५/७ दिनसम्म पनि परेनन् । दोस्रो पटकमा भने परेका हुन् । धनुषाको धनुषाधाम सामुदायिक वन र कोसीको भागलपुर क्षेत्रमा पनि अध्ययन थालिएको थियो । तर त्यहाँ महाचिल पक्राउ नपर्दा अध्ययन अघि बढ्न सकेन ।

 

Page 19
कोपिला

नाच्यो खरायो...

- कान्तिपुर संवाददाता

गीत मन नपर्ने को होला ? पक्कै सबैलाई मन पर्छ । बालबालिकाका लागि भनेर एपीसी नेपालले ‘हाम्रो आवाज’ गीति संग्रह ल्याएको छ । एल्बमका १० गीतमध्ये केहीमा तिमीहरूजस्तै बालबालिकाले पनि गाएका छन् । मुकुन्द पथिकले लेखेका र जुगल डंगोलले संगीत भरेका गीतहरू सन्देशमूलक छन् । एपीसी नेपालले बालबालिकालाई सडकमा जान रोक्छ र गएकालाई उद्धार गर्छ । स्वास्थ्य, शिक्षा र गाँसबास व्यवस्था गरी स्याहार र संरक्षण गर्छ । कानुनी सहयोग गरी परिवारसँग मिलन गराउँछ । एल्बममा संस्थाबारे पनि गीत छ ।
यसमा ‘बालअधिकार..’ ,‘बोल्न पनि जान्दिनँ...’ , ‘सुन्नुहोस्..’, ‘नाच्यो खरायो..’, ‘बाजा..’, ‘केटाकेटी..’, ‘हाम्रो घरको छानामा..’ , ‘खुत्रुकेमा..’, ‘हामीलाई बाआमाको..’ बोलका गीत छन् ।
गीतमार्फत् बालअधिकार, बाल मनोविज्ञान, साना भाइबैनीलाई कसरी नैतिक ज्ञान सिकाउने भन्ने सन्देश दिन खोजिएको छ । संगीतकार डंगोलको बालबालिकाकै लागि भनेर तयार पारेको यो छैटौं एल्बम हो । एल्बमका १० गीतमध्ये ८ वटा सुन्न मात्र सकिने छ भने दुइवटा ‘एपीसी नेपाल’ र ‘बालअधिकार’ बोलका गीतको भिडियो हेर्न पाइने छ । ती गीतमा बालबालिकाले नै नृत्य गरेका छन् ।
‘साना भाइबैनीले बुझ्ने सरल शब्द गीतमा छन्,’ डंगोल भन्छन, ‘अप्ठयारा र नबुझिने शब्द छैनन्, भाइबैनीले सुनिरहेकै, देखिरहेकै र बोलिरहेकै कुरालाई शब्दमा उतारेर गीत बनाइएको छ ।’ साना कक्षामा पढ्नेले गीत सुनेपछि नाच्न सक्ने छन् । गीतको नक्कल गर्दै गाउन सक्ने छन् । आफूहरूको अधिकारबारे थाहा पाउने छन् ।

विमल खतिवडा

कोपिला

जंगलमा लुगा पसल

- कान्तिपुर संवाददाता

बाादरको पनि लुगा पसल १ सुन्दा अचम्म लाग्छ । हो, यस्तै अचम्म लाग्ने कथा छ ‘फ्याउराको दौरा’ चित्रकथाभित्र । डिकुरा पब्लिकेसनले छापेको यो चित्रकथालाई रत्न प्रजापतिले लेखेका हुन् ।
पुन्टे बाँदर एक दिन जंगलबाट निस्कन्छ । घुम्दैघुम्दै गाउँसम्म पुग्छ । त्यहाँबाट पनि घुम्दैघुम्दै सहरसम्म पुग्छ । सहरका केटाकेटीले लुगा लगाएको देखेर छक्क पर्छ । आफू नांगै भएकाले उसलाई लाजमर्नु हुन्छ । त्यसपछि उसले जंगलका जनावरले पनि लुगा लगाउनुपर्छ भन्ने सोच्छ । अनि जंगलमै एउटा लुगा पसल खोल्छ ।
पसल उद्घाटनमा धेरै जनावर आउँछन् । सबैले एकएक जोर लुगा किन्छन् । स्यालले कोट र पाइन्ट किन्छ । मृगले सारीचोलो किन्छ । जरायोले जिन्स पाइन्ट किन्छ । खरायोले कट्टु किन्छ । भालुले धोती र इस्टकोट किन्छ । ब्वाँसोले ढाका टोपी र कछाड किन्छ । हरिणले बक्खु किन्छ । डांग्रे मुसाले गन्जी र कट्टु किन्छ । फ्याउराले चाहिँ एक जोर दौरा किन्छ । दौरा लगाएर उसले आफूले आफैंलाई हिरो ठान्छ ।
एक दिन ऊ दौरा लगाएर घाममा सुतिरहेका बेला डांग्रे मुसाले उसको दौरामा भ्वाङैभ्वाङ पारेर काटिदिन्छ । आफूलाई मन परेर किनेको दौरामा भ्वाङैभ्वाङ देखेर फ्याउरा निक्कै खिन्न हुन्छ । डांग्रे मुसासँग एकदमै रिसाउँछ । मुसा दुलोभित्र लुकेकाले केही गर्न सक्दैन । फ्याउराले फेरि नयाँ दौरा किनेर लगाउँछ । त्यसपछि उसलाई सबै जनावरले ‘फ्याउरा हिरो’ भनेर बोलाउँछन् । फ्याउरा दंग पर्छ । पुस्तकले सभ्य हुनुपर्छ भन्ने सन्देश दिएको छ । चित्र हेर्दै कथा पढ्न मजा आउँछ ।

Page 20
कोपिला

पुतली छोरी

- कान्तिपुर संवाददाता

सानीसानी पुतली,
अनुहारै हँसिली,
जान थालिन् पाठशाला,
बोकी सानो झोली ।

स्कुल गई सबैसित
मिलीजुली पढ्छिन्,
छुट्टीपछि घर आई
गृहकार्य गर्छिन् ।

पाठशाला छुटेपछि
घर आउँछिन् भ्यानमा,
मामुसँग मागेर
खान्छिन् एप्पल बनाना ।

मनपर्ने खाजा खाई
साथीसँग जान्छिन्,
हल्ला गर्दै तलमाथि
उछलकुद गर्छिन् ।

गणेश वज्राचार्य
बिराटनगर

कोपिला

मेरो प्यारो बाबा

- कान्तिपुर संवाददाता

भोकमा मलाई खाना दिने
जाडोमा मलाई नाना दिने,
दुःखमा मलाई साथ दिने
मेरो प्यारो बाबा ।

नयाँ कुरा सिकाउने
नयाँ ठाउँ डुलाउने,
विद्यालय पुर्‍याउने
मेरो प्यारो बाबा ।

खेलौना किनिदिने
नयाँ पापा किनिदिने,
मेरो दुःखमा दुःखी हुने
मेरो प्यारो बाबा ।।

प्रज्ज्वल शाह, कक्षा ः ४
एसओएस हर्मनमाइनर स्कुल, काभ्रे

Page 24
कोपिला

हिरो

- कान्तिपुर संवाददाता

आहाऽ ! कति राम्रो सिनेमा है !
सिनेमा हेरेर फर्कंदै गरेकी आशालाई दाजुले सिनेमा राम्रो भनेको फिटिक्कै मन परेन । उनले मनमनै सोचिन्– ‘छ्या १ त्यस्तो सिनेमा पनि के राम्रो भनेको होला ?’ सिनेमामा हिरो–हिरोइनको मित्रता, बुबाआमाको माया सबै कुरा मन परे पनि उनलाई हिरोले थुप्रै गुन्डालाई गोली ठोकेर मारेको र हिरोलाई सबैले धन्यवाद दिएको पटक्कै मन परेन ।
भोलिपल्ट स्कुलमा उनले मनमनै सोचिन्– मान्छे मार्ने मान्छेले पनि कहीँ धन्यवाद पाउँछ । नराम्रो काम गर्‍यो भने सम्झाई–बुझाई उसलाई राम्रो काम गर्न उत्साहित पो गर्नुपर्छ । उनले किताबमा पढेका कुरा सम्झिन् । हो, हिरोले ती गुन्डालाई सम्झाएर पो राम्रो बाटोमा हिँडाउनुपर्थ्यो । उनी एक्लै फत्फताइन्– ‘छि १ कस्तो नराम्रो हिरो ।’ अघिदेखि उनलाई हेरिरहेका कृष्ण सरलाई आज आशाको चालचलन अनौठो लागिरहेको थियो । झन् उनको मुखबाट हिरोको कुरा सुनेपछि सरले आशालाई बोलाउनुभयो ।
आशा सर छेउमा गएर उभिइन् । सरले सोध्नुभयो– ‘के हो आशा, स्कुल पढ्न आउँदा पनि हिरो र गुन्डा भनेर तिमी त खुबै घुमिरहेकी छौ नि ?’ सरको कुरा सुनेर आशाले भनिन्, ‘होइन सर, हिजो हेरेको सिनेमाको कुरा सम्झेको क्या ।’
‘त्यो सिनेमामा त्यस्तो के भयो ?’ सरले सोध्नुभयो ।
‘अरू त केही होइन सर । हिरोले सबै गुन्डालाई गोली ठोकेर मार्‍यो अनि हिरोलाई सबैले ताली बजाएर धन्यवाद दिए । मलाई यो फिटिक्कै मन परेन सर !’
‘हो आशा, तिम्रो विचार ठीक हो । म तिम्रो कुरामा सहमत छु । हामीले हिंसा गर्नेलाई स्याबासी दिनुहुन्न । बरु तिमीले यो कुरा त्यो हिरोलाई पनि फोन गरेर भन्नु राम्रो होला,’ सरले आशालाई सुझाव दिनुभयो । आशालाई सरको कुरा ठीक लाग्यो । उनी हतारिँदै अफिस कोठामा गइन् । उनले चलचित्र कलाकारको फोन डायरीबाट त्यो हिरोको नम्बर पत्ता लगाइन् ।
संजोग भनौं, आशाको फोन हिरोले नै उठाए । आफ्नो प्रशंसकको मुखबाट त्यस्तो कुरा सुनेर हिरो एकछिन अकमकिए । उनले नम्र स्वरमा भने, ‘आशाजी, तपार्इंले ठीक भन्नुभयो । अबदेखि म सिनेमा खेल्दा विचार पुर्‍याउँछु है !”
हिरोको यस्तो जवाफ सुनेर आशा दङ्ग परिन् । उनलाई आफ्नो मनको कुरा हिरोलाई भन्न पाएकोमा निक्कै खुसी लाग्यो ।
कार्तिकेय