You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

न्यायको अन्तहीन पर्खाइ

राजनीतिक शक्ति–आडमा दबाइएको बीभत्स हत्याकाण्डको १२ वर्ष
- जनकराज सापकोटा,शिव पुरी
मृतक त्रिलोकका बाबु श्रीनारायण सिंह ।तस्बिर ः अंगद ढकाल/कान्तिपुर

(रौतहट) - पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरबाट ३५ किलोमिटर उत्तर छिरेपछि आउँछ सरुअठा गाउँ । मूलबाटोबाट करिब एक किलोमिटर पूर्व पसेपछि ७९ वर्षीय श्रीनारायण सिंहको घर पुगिन्छ । उमेरको उत्तरार्द्धमा श्रीनारायणसँग सुनाउनुपर्ने विगतका यादभन्दा रातोदिन बल्झिरहने दुःखको घाउ मात्रै छ । उनको दुःखका कथा साविकको राजपुर फरहदवा गाविस–४ हाल राजपुर नगरपालिका–४ मा २०६४ चैत २७ मा घटेको अकल्पनीय घटनाबाट सुरु हुन्छ । फिल्मको झल्को आउने त्यो घटनाको केन्द्रमा जोडिएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले भर्खरै पक्राउ गरेको छ । आलम पक्राउपछि श्रीनारायणलाई फेरि पुरानो दुःख, छोरा गुमाएपछिका छटपटीका दिन र न्यायका निम्ति १२ वर्ष लामो संघर्षको कथा सुनाउने मेसो मिलेको छ ।
पहिलो संविधानसभा निर्वाचनको चहलपहलले देहाती गाउँको चहलपहल ह्वात्तै बढाइदिएको थियो । रौतहटको निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका तर्फबाट उम्मेदवार मोहम्मद आफताब आलमको चहलपहल पनि गरमागरम थियो । सीमावर्ती भारतको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा बीएस्सी पहिलो वर्षमा पढिरहेका श्रीनारायणका २२ वर्षीय छोरा त्रिलोक बिदामा घर आएका थिए । राम्रो बोल्ने खुबी भएका उनलाई आलमको चुनावी प्रचारमा खटिएकाहरूले घरबाट हिँडाइहाले । त्यो दिनको सम्झना श्रीनारायणलाई झलझली छ । चुनावको २ साताअघि १८ चैतमै आलमका मान्छे आएर छोरालाई घरबाट लगिएको थियो । उनले सुनाए, ‘छोरालाई चुनावी प्रचारमा लिएर गएछन् भन्ने थाहा पाएपछि नै मेरो मन थिरमा थिएन ।’ श्रीनारायणलाई बम विस्फोटको घटनाभन्दा विस्फोटपछि भएका घटना लुकाउन भएका आततायी गतिविधिले मन भतभती पोलेको छ । उनले घटनाका प्रत्यक्षदर्शी र अन्य गाउँलेबाट थाहा पाए, चुनावको दिन बुथ कब्जा गर्ने उद्देश्यले आलमको सहोदर काका एवं कांग्रेस नेता पूर्वमन्त्री शेख इद्रिसको फरहदवा राजपुरस्थित गोठमा बम बनाउने काम चलिरहेको थियो । प्रहरीका अनुसार आलमका अंगरक्षकको काम गर्ने बलरु भन्ने शेख सराजले सल्काएको चुरोट हातबाट खसेलगत्तै ठूलो आवाजमा धूवाँको मुस्लोसहित बम विस्फोट भएको थियो । प्रहरीका अनुसार घटनापछि सराज सार्वजनिक वृत्तमा देखिएका छैनन् ।
कान्तिपुरले घटनाको प्रत्यक्षदर्शी रहेका फरहदवा गाउँका ५ जनासँग गरेको कुराकानीअनुसार विस्फोट लगत्तै रुक्साना खातुनका छोरा ओसी अख्तर र श्रीनारायणका छोरा त्रिलोक सामान्य घाइते भएका थिए । अन्य केही मरणासन्न हुने गरी घाइते भए र केहीको तत्कालै मृत्यु भयो । घटनामा ठ्याक्कै कति जनाको मृत्यु भयो र कति जना घाइतेलाई पोल खुल्ने डरले मारियो भन्ने खुल्दैन । घटनाको अनुसन्धानमा जुटेका जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले पनि घटनामा ठ्याक्कै कति जना मारिए भन्ने यकिन भइनसकेको बताए । श्रीनारायणले सुनेअनुसार छोरा त्रिलोकलाई खुट्टामा सामान्य चोट मात्रै लागेको थियो । उनले घटनामा २२ जनाजति परेको, बाँचेकाहरूलाई पनि बेहोस हुने इन्जेक्सन दिएर बोरामा हालिएको र राति नै गोठदेखि करिब दुई किलोमिटरको दूरीमा रहेको इँटाभट्टामा हालेर मारिएको दाबी गरे ।


घटनाका पाँचै प्रत्यक्षदर्शीले घटनामा मारिएका मानिसबारे फरक फरक संख्या सुनाए पनि उनीहरूको भनाइमा समानता के देखिन्छ भने घटनाको पोल खुल्ने डरले घाइतेहरूलाई समेत समातेर इँटाभट्टामा हालेर बर्बरतापूर्वक मारिएको थियो ।
केही प्रत्यक्षदर्शीले सामान्य घाइतेलाई बेहोस हुने इन्जेक्सन दिएको बताए भने केहीले विष घोलेको पानी खुवाइएको सुनाए । उनीहरूले त्यसको पुष्टि हुने आधार भने सुनाउन सकेनन् । नेता आलमका जेठो छोरा नेपाल प्रहरीको अस्पतालमा कार्यरत डाक्टर रहेको र परिवारका अन्य सदस्य पनि चिकित्साशास्त्र पढिरहेकाले उनीहरूले घाइतेलाई मार्न इन्जेक्सन प्रयोग गरिएको आकलन प्रत्यक्षदर्शीको छ । त्यसो त कैयन् स्थानीय मानिस प्रमाण बिनाका यस्ता अनेकन तथ्यहरूमाथि विश्वास गर्छन् । घटनाको पछिल्लो अनुसन्धानमा जुटेका एक प्रहरी अधिकारीले भने विस्फोटपछि घाइतेहरूलाई पोल खुल्ने भन्दै क्रूरतापूर्वक मारिएको सत्य भए पनि कसरी मारियो र त्यसमा प्रत्यक्ष को को संग्लन थिए भन्नेबारे अनुसन्धान जारी रहेको सुनाए ।
समसुल मियाँ घटनामा मारिएका ओसीको ससुरा हुन् । सरुअठास्थित घरमा उनी ज्वाइँ मारिएपछि बेसहारा बनेका छोरी र दुई नातिसहित परिवारको जिम्मेवारी सम्हालेर बसिरहेका छन् । सर्लाहीको लालबन्दी बसेर काठमाडौंमा तरकारी पठाउने काम गर्दै आएका उनी घटनाको दिन मात्रै आफ्नो घर आएका थिए । गाडी राम्ररी नचेकाले उनले बिहानै फोन गरेर छोरीलाई भनेका थिए, ‘म चन्द्रनिगापुरसम्म आउँछु । ज्वाइँलाई मोटरसाइकलमा लिन पठाइदिनू ।’ तर वैदेशिक रोजगारीका क्रममा दुबईबाट केही महिनाअघि मात्रै छुट्टीमा घर आएका ज्वाइँ छोरीको कुरै नसुनी आलमको चुनावी प्रचारमा हिँडिसकेका थिए ।
चुनाबको अघिल्लो साँझ समसुल घरमै बसिरहेका थिए । साँझपख एक्कासि ठूलो विस्फोटको आवाज आयो । उनले मूलबाटोतिर निस्केर घटनास्थल फरहदवा गाउँतिर नियाले । मान्छेहरू खेतखेतै कुदिरहेका थिए । के कसो भएछ भनेर उनी दर्गुर्दै त्यतैतिर लागे । उनी पुग्दा साँझ झमक्कै ढल्किसकेको थियो । उनले थाह पाइहाले, धमकेदार बम विस्फोट भएछ । विस्फोट भएको ठाउँतिर छिर्नै नसक्ने गरी मान्छेहरूले घेरिरहेका थिए । त्यहाँ केही प्रहरी पनि थिए । तर तिनीहरू को को थिए र कुन कुन दर्जाका थिए भन्ने उनलाई पत्तो भएन । समसुलले सुनाए, ‘घटनास्थलतिर जान लागेका मान्छेलाई हर्कार्दै धपाउँथे । डराएर म छेवैको गहंँबारीभीत्र लुकेँ ।’
कान्तिपुरसँगको कुराकानीमा समसुलले गहुँबारीभित्र लुकेर बस्दा आफूले देखेको कुरा सुनाए । उनले भने, ‘घाइते र मरेका सबैलाई बोराभित्र हाल्दै मुख बाँधेर ट्र्याक्टरमा हालेर लगे ।’ उनले चालचुल नगरी गहुँबारीमै बसेर सबै दृश्य नियाले । उनका अनुसार घटनास्थलमा प्रहरीको गाडी पनि पुगेको थियो, प्रहरीले नै घटना सामसुम पार्न सहयोग गरिरहेको देखिन्थ्यो । उनले दाबी गरे, ‘सशस्त्रका एसपी कृष्ण लामा’नि त्यही थिए ।’
समसुल र कान्तिपुरसँग सम्पर्कमा आएका अन्य प्रत्यक्षदर्शी र गाउँलेको भनाइबाट विस्फोटलगत्तै केही प्रहरी घटनास्थल पुगेको र उनीहरूले घटना लुकाउने भूमिका निर्वाह गरेको बुझिन्छ । घटनास्थलबाट मुस्किलले डेढ किलोमिटर दूरीमा इलाका प्रहरी कार्यालय राजपुर छ । घटनाका बेला सई ईश्वरविक्रम शाहको नेतृत्वको टोली त्यहाँ थियो ।
समसुलले पनि श्रीनारायणले जस्तै घाइते ज्वाइँलाई इन्जेक्सन लगाइएको सुनाए तर त्यसलाई पुष्टि हुने आधार सुनाउन सकेनन् । ‘बोराभित्र हालिएका लासलाई ट्र्याक्टरमा राखेर इँटाभट्टातिर लगेका थिए । पछि सबैलाई भट्टामै हालेर पोलिदिए,’ समसुलले सुनाए । उनले पनि घटनामा १७/१८ जना मान्छे मरेको दाबी सुनाए । समसुलले मध्यरातमा आफू गहुँबारीबाट लुक्दै लुक्दै साबिक लौकाह गाविसतिर पुगेको र भोलिपल्ट बिहान मात्रै घर फर्केको सुनाए । सबैले सुनाएको घटना विवरणको सबैभन्दा बलियो तादाम्यता भनेको घाइतेलाई पनि मारिएको, बोरामा हालेर इँटाभट्टामा लगेर पोलिएको भन्ने तथ्य नै हो ।


आलमका भान्जा मुस्ताक राजाको ‘राजा इँट्टाभट्टा’ मा त्यो रात अबेरसम्मै चहलपहल देखेको अधिकांश प्रत्यक्षदर्शीले कान्तिपुरलाई बताए । ६४ वर्षीय रामबहादुर साहको घर शेख इद्रिसको गोठबाट केही सय मिटरको दूरीमै पर्छ । साँझ अबेरतिर विस्फोट हुँदा उनी गोठमा गोरु बाँध्दै थिए । कालो मुस्लो सहित कानै थर्किने विस्फोटको आवाज आएपछि उनले ठाने, अहो कसको घरमा आगलागी भएछ १ उनी बाल्टिनभरि पानी बोकेर दगुर्दै घटनास्थिलतिर दगुरे । तर घटनास्थल घेरेर बसेका आलमका मान्छेले ‘तुम लोग भागो यहासे, तुम लोगका काम नही हे’ भन्दै उनलाई त्यहाँ छिर्न दिएनन् ।
रामबहादुरले घटनास्थल पुग्दा आफूले १०/१२ जना मान्छे भुइँमा सुताएको, केही छटपटाइरहेको र केही मरेजस्तो देखेको सुनाए । उनले केही मान्छेले छटपटाइरहेकाहरूलाई बोराभित्र कोचिरहेको पनि आफूले देखेको दाबी गरे । आलमका मान्छेहरूले चर्को चर्को स्वरमा खेद्न थालेपछि रामबहादुर डराउँदै घर फर्के । तर उनको आँखा गोठतिर एकोहोरिएको थियो । उनका अनुसार राति अबेरसम्म पनि उनकै घर अगाडिको बाटो हँॅदै घटनास्थलतिर प्रहरीहरू गइरहेका थिए । समसुल र श्रीनारायणले जस्तै उनले पनि बोरामा हालिएका शवलाई ट्याक्टरमा राखेर इँटाभट्टातिर लगिएको बताए ।
रामबहादुर घटनाको भोलिपल्ट अबेरतिर गोठछेउ पुगेका थिए । त्यतिबेला केही मान्छेले धमाधम चर्केको र ठाउँठाउँमा भत्केको गोठ बनाइरहेका थिए । कोहीले भ्वाङ परेको छानामा खपटा हालिरहेका थिए, कसैले बाँस चिरेर भित्ताको चर टालिरहेका थिए । उनका अनुसार खपटा हाल्ने बेला कामदारहरूले एउटा कुइनोमुनिको हात भेटेका थिए । रामबहादुरका अनुसार विस्फोटपछिका भएका सबै क्षतिको प्रमाण लुकाउन आलमका मान्छेहरू खटिएका थिए । तीमध्ये धेरैजसो सीमावर्ती भारतका इँटाभट्टामा काम गर्ने र आलमलाई सघाउने भारतीयहरू थिए ।
अम्बुकुमार यादव त्यति बेला १६ वर्ष जतिका थिए । उनी विस्फोट हुँदा गोठनजिकै थिए । उनले बीभत्स घटना र त्यसपछि गाउँमा भएका अनेकन अडकलबाजी बिर्सन सकेका छैनन् । उनले विस्फोटपछि उछिट्टिएका मासुका टुक्रा छरछिमेकसम्म पुगेको भन्ने कुरा अरूबाट सुनेको बताए ।
रामबहादुरका अनुसार मान्छे पोलिएको इँटाभट्टा घटनापछिका चार दिनसम्म बन्द रहेको थियो । अहिले उक्त इँटाभट्टा रहेको ठाउँमा धानबारी छ । स्थानीयका अनुसार करिब दुई वर्ष पहिले उक्त इँटाभट्टालाई त्यहाँबाट केही पर सारिएको हो । घटनास्थल फरहदवा गाउँबाट करिब ८ किलोमिटरमा सीमावर्ती भारतको कुडुवा चैनपुर पुगिन्छ । गाउँ नजिकका धेरैजसो इँटाभट्टामा भारतीय कामदारकै वर्चस्व रहन्छ । घटनाका कैयन् प्रत्यक्षदर्शी त्यही भट्टामा काम गर्ने भारतीय कामदार भएको र घटनापछि डरले सबैजसो भारत फर्किएको एक स्थानीयले बताए ।
घटनामा ठ्याक्कै कति घाइते भए, कति तत्कालै मारिए र कतिलाई पछि आलमका मान्छेले मारे भन्नेबारे ठ्याक्कै बताउन सक्ने कोही छैन । झन्डै १२ वर्षपछि घटनाको अनुसन्धान थालेको जिप्रका रौतहटले सोही विस्फोटमा घाइते भई ज्यान जोगाउँदै भागेका एक जना पीडितलाई अनुसन्धानको घेरामा राखेको छ । प्रहरी स्रोतका अनुसार ५९ वर्षीय सफी अहमद नामक ती घाइतेले विस्फोटका बेला आफ्नो पेटमा गम्भीर चोट लागेको र आन्द्रा बाहिर निस्केको बताएका छन् । कान्तिपुरलाई प्राप्त सफीको भिडियो क्लिपमा उनको पेटमा ठूलो चोटको दाग देखिन्छ । स्रोतका अनुसार घटनापछि घाइते सफी आफूलाई पनि मारिने भएपछि गहुँबारी हुँदै भागेर सीमावर्ती भारतको मोतीहारी पुगेका थिए । गाईभैंसीको कारोबार गर्ने एक जना भारतीयले उपचार गर्न सघाएको र मोतीहारीकै तैयब नर्सिङ होममा आफूले झन्डै ६ महिनासम्म उपचार गराएको सफीले बताएका छन् । आफू मारिने भयले लामो समयसम्म मोतीहारी नै बसेका उनी केही वर्षअघि सर्लाहीस्थित घर फर्केका थिए । कान्तिपुरले प्राप्त गरेको भिडियो क्लिपमा उनले घटनाका बेला थुप्रै घाइते भएको बताए पनि यकिन संख्या भनेका छैनन् ।
वर्षौंसम्म शक्ति केन्द्रको प्रभावमा परेर अनुसन्धान अगाडि नबढेको यो घटना सर्वोच्चको निर्देशन र फैसला कार्यान्वयन निर्देशनालयको तारन्तारको ताकेतापछि बल्ल अनुसन्धान अगाडि बढेको छ । २०७६ जेठ १४ गते जिल्ला सरकारी वकिलको कार्यालयले जिप्रका रौतहटलाई घटनाको अनुसन्धान गर्ने निर्देशन दिएको थियो । निर्देशनको ५ नम्बर बुँदामा भनिएको छ, ‘राजकुमार शाह कानु, राजन भन्ने सत्यन्द्र सिंह, सफिक अहमद, सुकराती शाह तेली र हैदर अलीसमेत सोही घटना वारदातपश्चात् बेपत्ता भएको भन्ने देखिँदा निजहरूको सम्बन्धमा पनि अनुसन्धान गर्ने ।’ जिप्रकामा कार्यरत एक प्रहरी अधिकारीले सरकारी वकिलको निर्देशन र घटनाका प्रत्यक्षदर्शीहरूको प्रारम्भिक बयानले त्रिलोक र ओसीका अलवा अन्य पनि मारिएको हुन सक्ने भनाइलाई बल पुर्‍याउने बताए ।

 

मुख्य पृष्ठ

'मलाई लखेटेर हटाउन सम्भव छैन'

प्रधानमन्त्री केपी शर्मा ओली
- कान्तिपुर संवाददाता

 

दुई अध्यक्ष भने पनि एउटा ‘सिनियर’ हुन्छ, अर्को ‘जुनियर’ । तर हामीले एकदम बराबरीको हैसियतमा जस्तो व्यवहार गरेका छौं । संयुक्त अध्यक्षतामा बैठक हुने गरेको छ । प्रचण्डजी नहुँदा मैले कहिल्यै बैठक राखेको छैन । म नहुँदा ‘बस्नुपरे बस्नुहोस्, तपाईं नै बैठक राख्नुहोस्’ भनेर मैले सिंगापुर जाँदा भनेको हुँ । उहाँलाई उपाध्यक्ष त कसैले भनेन । तर पार्टी चलाउने भनेको एकल रूपमा चलाउने त होइन । दुइटा अध्यक्ष छौं नि !

(सरकारको नेतृत्व आधा–आधा गर्ने) यदि कुनै समझदारी छ भने त्यो समझदारी आएका बेला (कार्यान्वयन) हुने होला नि ? यो सरकार अरू कसैलाई हेरेर, अरू कसैको ‘लिडरसिप’मा विश्वास गरेर बनेको हो र ? यो परिस्थिति मेरो लिडरसिपमा बनेको हो, जसले जे भने पनि । अब मैले छोड्नलाई पनि समझदारी हुनुपर्छ होला । अहिल्यै छोड्ने, भरे नै छोड्नेजस्तो, लखेटेर हटाएजस्तो त होइन होला । मलाई लखेटेर हटाउन सायद सम्भव पनि छैन होला ।

अस्थिरता देखिने गरी ‘छोडिदिनुपर्‍यो, ल..ल..अब छोडिदिई हाल्नुपर्‍यो π’ जतिबेर पनि, जोसँग भेट भए पनि, जहाँ पनि, जसले पनि यो कुरा गर्नुको अर्थ समझदारी खल्बल्याउने प्रयास हो । अमेरिकामा चार वर्षमा चुनाव हुन्छ । ‘यो राष्ट्रपति अब एक वर्ष त हो नि’ भन्दै कोही हिँड्छ ? ‘अब समय सिद्धियो’ भनेर त हिँड्दैनन् नि π त्यसैले यो अस्थिरता जनाउने खालको कुरा हो । संवैधानिक, कानुनी हिसाबले जे व्यवस्था छ, त्यसलाई अपमान गर्ने, उल्लंघन गर्ने, जनताको अभिमतलाई अवमूल्यन गर्ने कुरा राजनीतिक ‘लिडर’हरूले बोलेर हिँड्दैनन् ।

उहाँहरूको माओवादीभित्र के–के समस्या परे होलान् । पटक–पटक नयाँ–नयाँ कुरा खोज्ने स्वभाव उहाँहरूको देखियो । सम्झौता, सहमति पनि थपिँदै गए । मलाई त एकता चाहिएको हो । त्यसैले मसँग लचकता हुनु धेरै स्वाभाविक हो । न्यायपूर्ण समाजको निर्माण, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कुरामा हाम्रो मतभेद छैन । यसो भएपछि अब वैचारिक मतभेद छ भन्ने रहेन । अलिकति दबाब हुन सक्छ । मानिस हो, अलिअलि ‘इगो’का प्रश्न हुन सक्छन् ।

मुख्य पृष्ठ

संवैधानिक इजलासद्वारा प्रदेश कानुनहरू खारेज

- कान्तिपुर संवाददाता

(काठमाडौं) - संवैधानिक प्रावधानविपरीत बनाइएको ठहर गर्दै सर्वोच्च अदालतले ६ वटा प्रदेशका कानुन खारेज गरेको छ । मुलुक संघीय संरचनामा गएपछि प्रदेश तहबाट जारी भएका कानुनहरू एकमुष्ट खारेज भएको यो पहिलो घटना हो । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको मासिक पारिश्रमिक तथा ज्यालासहितको सुविधासम्बन्धी कानुन खारेज गरिएका हुन् ।
सर्वोच्च अदालतका अनुसार, सातमध्ये प्रदेश १ ले मात्र स्थानीय तहका पदाधिकारी तथा सदस्यले सुविधा (भत्ता) लिन पाउने कानुन निर्माण गरेको छ । अरूले भने पारिश्रमिक नै लिन पाउने गरी कानुन बनाएका थिए । बैठक चलेका बेला मात्रै भत्ता लिन पाइन्छ भने मासिक पारिश्रमिकले नियमित सुविधा पाउने बाटो खोल्छ । संविधानमा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिकको व्यवस्था छैन । गत साता नै सुनुवाइ सकेको संवैधानिक इजलासले शुक्रबार निर्णय सुनाएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासले गरेको फैसलाको प्रति भने तयार भइसकेको छैन ।
रिट निवेदकको दाबीअनुसार संविधानको धारा १०८ को व्यवस्थाअनुसार प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, समितिका सभापति तथा संघीय संसद्का सदस्यहरूका लागि पारिश्रमिक र सुविधा संघीय कानुनबमोजिम हुनेछ । संविधानको धारा १९६ मा प्रदेशसभाको सभामुख, उपसभामुख तथा सदस्यको पारिश्रमिक र सुविधाको व्यवस्था छ । तर त्यस्तो व्यवस्था प्रादेशिक कानुनबमोजिम हुने संविधानमा उल्लेख छ, स्थानीय तहका जनप्रतिनिधिहरूले तलब पाउने व्यवस्था छैन । ‘संविधानको यस व्यवस्थाबमोजिम संघीय संसद्का सदस्यहरू र प्रदेशसभा सदस्यहरूले पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनहरू जारी गरी लिइरहेका छन्,’ निवेदनमा भनिएको थियो ।

‘संविधानले प्रस्ट रूपमा स्थानीय तहका पदाधिकारी तथा सदस्य (जनप्रतिनिधि) हरूको हकमा सुविधा मात्र लिने पाउने व्यवस्था गरेको छ । उनीहरूले मासिक पारिश्रमिक पाउने व्यवस्था कहींकतै गरिएको छैन,’ निवेदनमा भनिएको थियो ।६ वटा प्रदेशले ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन २०७५’ जारी गरेपछि स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले मासिक रूपमा पारिश्रमिक (ज्याला) र सुविधा लिइरहेका थिए । संविधानले नदिएको अधिकार प्रयोग गरी प्रदेश व्यवस्थापिकाले राज्य कोष रित्याउने गरी कानुन निर्माण गरी लागू गरिसकेको भन्दै रिट निवेदनमा तिनलाई प्रारम्भिक चरणदेखि नै खारेज गर्न माग गरिएको थियो । मुद्दामा ६ वटा प्रदेशसभाका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो ।
प्रदेश कानुनअनुसार ६ वटा प्रदेशका स्थानीय तह प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूले मासिक पारिश्रमिक लिइरहेका थिए । ६३ वटा जिल्लाका जिल्ला समन्वय समितिका पदाधिकारीहरूले पनि सुविधा लिइरहेका थिए ।
६ वटै प्रदेशले निर्माण गरेको ऐनमा स्थानीय तहका पदाधिकारी र सदस्यहरूले मासिक रूपमा लिने तलबलाई पारिश्रमिक (ज्याला) नभनी सुविधा भनिएको छ । निवेदनमा भनिएको थियो, ‘लिने बेला मासिक तलब/ज्याला/पारिश्रमिक लिने व्यवस्था गर्ने तर ऐनमा चाहिँ सुविधा राखेर यी ६ वटै व्यवस्थापिकाले ‘चोर’ बाटो लिएका छन् ।’

Page 2
समाचार

'१२ वर्षपछि पक्राउ गर्न पाइन्छ ?'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आलमको बचाउ गरेका छन् ।
पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् । ‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले भने, ‘त्यतिबेला के हेरेर बसेको ?’
कांग्रेसबाट निर्वाचित स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षका लागि आयोजना गरिएको दुईदिने प्रशिक्षणमा देउवाले राम्रो काम गरेर देखाउन जनप्रतिनिधिहरूलाई निर्देशन दिए । ‘कम्युनिस्ट र कांग्रेस फरक छन् भन्ने कुरा जनताको मन जितेरै देखाउनुपर्छ,’ स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिँदै देउवाले भने, ‘आगामी निर्वाचनमा पार्टीले जित्ने गरी काम गरेर देखाउनुहोस् ।’ शनिबारसम्म चल्ने प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको उपलब्धिलाई कमजोर बनाएर सरकारले हस्तक्षेप बढाएको बताए । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत आलमको घटनालाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा लिए । सञ्चारमाध्यम कांग्रेसविरुद्ध लागिपरेको उनको आरोप थियो ।

समाचार

१२ वर्षमा ७२ पल्ट काठमाडौं

- कान्तिपुर संवाददाता

रौतहट (कास)– विस्फोटको एक सातासम्म भोकप्यासै नभनी छटपटाएका श्रीनारायण र रुक्साना त्यसपछि घटनाको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै अगाडि आए । घटनाको ११ दिनपछि श्रीनारायण र रुक्सानाले आलमसहित ५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिए । तर तत्कालीन एसपी लक्ष्मण न्यौपाने (जो पछि टीकापुरमा भएको आन्दोलनमा मारिए) ले उनीहरूको जाहेरी दर्ता गरेनन् ।
प्रत्यक्षदर्शी एवं पीडितका परिवार भने घटनाको राति नै एसपी न्यौपाने, तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी र सशस्त्रका तत्कालीन एसपी रामकृष्ण लामा फरहदवास्थित गोठमा पुगेको दाबी गर्छन् । घटनाको भोलिपल्टै एसपी न्यौपानेले कान्तिपुरकर्मीलाई घटनै नभएको दाबी गरेका थिए । मानवअधिकारकर्मी, विपक्षी दल र सञ्चारकर्मीको चासो बढेपछि एसपी न्यौपानेले घटनास्थलको मुचुल्का उठाए तर जिप्रकामा रहेको घटनाको पुरानो फाइलमा न घटनास्थलको तस्बिर भेटिन्छ न अन्य घटनाको पूर्ण विवरण नै । घटनास्थलको भनिएको उक्त मुचुल्कामा बम विस्फोट भन्ने नै उल्लेख छैन । घटनापछिका दिनहरूमा प्रहरीको भूमिका शंकास्पद मात्रै होइन, शक्तिकेन्द्रमा रहेका आलमको स्वार्थ पूरा हुने गरी नाम मात्रको कागजी प्रक्रिया अगाडि बढाइएको देखिन्छ ।
घटनाबारे अनुसन्धान गर्नुपर्ने माग बढ्दै गएपछि एसपी न्यौपानेले २०६५ वैशाख १६ मा इँटाभट्टाको माटो र वैशाख १७ मा इँटा निकालेर परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएका थिए । कान्तिपुरसँग सम्पर्कमा आएका केही प्रहरी अधिकारीहरूले आलमको स्वार्थलाई बल पुर्‍याउने गरी तत्कालीन एसपी न्यौपानेले शव पोलिएको भन्दा फरक इँटाभट्टाको माटो र इँटा परीक्षणमा पठाएका थिए ।
मृतक ओसीकी आमा रुक्सानाले घटनाको केही दिनपछि विस्फोट भएको गोठ नजिकै छोराको स्वेटर, मोजा र जुत्ता फेला पारेकी थिइन् । उनले उक्त सामग्री प्रहरीलाई अनुसन्धानका लागि भन्दै दिएकी पनि थिइन् । तर आलमको राजनीतिक प्रभावमा परेको प्रहरी प्रशासनले घटनाको गम्भीर अनुसन्धान अगाडि बढाउनै चाहेन ।
आलम र उनका मान्छेहरूले श्रीनारायण र रुक्सानालाई अनुसन्धानका निम्ति बिन्ती बिसाउँदै नहिँड्न भन्दै कैयन् पटक धम्काए । ज्यानै मार्नेसम्मको धम्की पनि उनीहरूले कैयन् पटक पाए । श्रीनारायणले सुनाए, ‘पैसाको प्रलोभन दिएनन् कि, ठूलाबडासँग जोरी नखोज भन्दै धम्काएनन् कि ? के मात्रै गरेनन् तर मैले हरेस खाइनँ ।’ जाहेरी दर्ता नभएपछि उनीहरूले हुलाकबाट जाहेरी पठाए । आलमको शक्ति प्रभावमा परेको प्रहरीले अन्तमा मुद्दा दर्ता त गर्‍यो तर असार ९ गते नाटकीय शैलीमा एकै दिन पक्राउ पुर्जी जारी गरियो, पक्राउ गरियो र कर्तब्य ज्यान जस्तो गम्भीर मुद्दामा त्यही दिनमै अनुसन्धान सकेको नाटक गरेर सरकारी वकिलको कार्यालयमा मुद्दाको फाइल पेस गरियो । सरकारी वकिलको कार्यालयले उही रफ्तारमा त्यसै दिनै आलमसहित पाँचै जनालाई कागज गरेर हाजिरी जमानीमा छाडिदियो । सरकारी वकिलको कार्यालयको यही निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले २०६५ असार ३० गते सदर गरिदियो ।
एसपी न्यौपाने सरुवा भएपछि जिल्ला प्रहरीको नेतृत्व सम्हाल्न २०६५ साउन ६ गते एसपी जयबहादुर चन्द रौतहट आए । करिब चार महिना मात्रै जिल्ला प्रहरीको नेतृत्व सम्हालेका उनले यो मुद्दामा कपोकल्पित ब्यहोरा उल्लेख गरी ‘सम्मानित अदालतसमक्ष दर्ता गराउन दर्ता भएको रिट निवेदन खारेजभागी छ’ भन्दै सर्वोच्चलाई लिखित जवाफ पठाए । कर्तब्य ज्यान जस्तो गम्भीर प्रकृतिको मुद्दाको विस्तृत प्रकृति र विवरण नै नबुझी आखिर किन एसपी चन्दले त्यस्तो लिखित जवाफ सर्वोच्चलाई पठाए ? कान्तिपुरको यही प्रश्नमा उनले त्यसबारे आफूलाई पूरै जानकारी नभएको तर्क गरे । उनले भने, ‘मलाई यसबारे खासै यादै भएन । मैले आलमलाई किन जोगाउनुपर्‍यो र ?’ उनले शक्तिकेन्द्रको प्रभावमा परी आफूले आलमलाई जोगाउन लागिपरेको भन्ने आरोप वकबास भएको बताए ।
यति हँॅंदा पनि श्रीनारायण र रुक्सानाले हिम्मत हारेनन् । उनीहरूले सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको निर्णयउपर सर्वोच्च अदालत धाए । श्रीनारायण खेतीपातीको आयस्ताबाट जोगिएको बाटो खर्च बोकेर प्रत्येक महिना केही साताको अन्तरमा काठमाडौं धाउँथे । उनले औंला भाँचेर हिसाब सुनाए, ‘त्यसपछिका वर्षमा म ७२ पटक काठमाडौं धाएँ ।’ उनी र रुक्सानाले न्यायको याचना गर्दै कहिले पत्रकार सम्मेलन गरे, कैयन् पटक राष्ट्रिय मानवअधिकार आयोग धाए, कैयन् पटक अनेकन कानुन व्यवसायीसँग सहयोगको हात पसारे । महिनौंको दौडधुपपछि २०६९ जेठ १६ मा तत्कालीन न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले मुद्दा नचल्ने सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ता कार्यालयको निर्णय खारेज गरिदियो ।
यसपछिका प्रत्येक वर्ष सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले जिल्ला सरकारी वकिलको कार्यालयलाई उक्त घटनाबारे अनुसन्धान अगाडि बढाउन भन्दै निर्देशनात्मक पत्र पठाइरह्यो । २०६९ जेठ १६ यता निर्देशनालयले ५ पटक आदेश कार्यान्वयन गर्न भन्दै सरकारी वकिलको कार्यालयलाई पत्र पठाएको देखिन्छ । त्यस्ता सबै पत्रलाई औपचारिक प्रक्रिया दिएजसरी सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको पनि देखिन्छ । कागजी प्रक्रिया मात्रै पुर्‍याउन जिप्रकाले अनुसन्धान अधिकृत तोक्ने तर अनुसन्धानलाई अगाडि नबढाउने गरेको देखिन्छ ।
घटना यताको झन्डै १२ वर्षमा १५ एसपीले जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हाले । प्रहरीमा प्रत्येक नेतृत्व फेरिँदा श्रीनारायण आशावादी अनुहार लिएर गौरस्थित प्रहरी कार्यालय पुग्थे र घटनाको पूरै वृत्तान्त कहेर अनुसन्धानको याचना गर्थे । उनले सुनाए, ‘मुखले गर्दिन कसैले भनेनन् तर अनुसन्धान कसैले अगाडि बढाएनन् ।’ उनले २०६९ असोज २५ मा सरुवा भएर आएका एसपी महेशविक्रम शाहले अनुसन्धान अगाडि बढाउन खोजेको तर उनको पनि चार महिनापछि नै सरुवा भएको सुनाए । न्यायको खोजीको दौडिरहेका बेला २०६७ माघ ८ मा ओसीकी आमा रोक्सानाको गोली प्रहार गरी हत्या भयो । दुर्गा भगवती गाउँपालिकाको छतौनास्थित माइतबाट सरुअठास्थित घर फर्किरहेका बेला उखुबारीमा लुकेर बसेका केही मान्छेले रुक्सानामाथि गोली दागेका थिए । उनको त्यहीँ सास गयो ।
त्यसपछि त श्रीनारायणलाई मुद्दा मामिलाको चक्करमा नलागेर आलमसँग मिल्न कैयन्ले दबाब दिए । उनका अनुसार बडर्हवा गाउँस्थित आफ्नो ज्वाइँमार्फत आलमका भाइ महताबले दस लाख रुपैयाँ लिएर चुपचाप बस्न खबर पठाएका थिए । तर श्रीनारायणले यस्तो सल्लाह दिनेलाई भनिदिए, ‘मैले छोरा हुर्काएको हुँ । खसीबाख्रा पालेको होइन र त्यसको मूल्य हुँदैन । पैसाले गएको ज्यान फर्केर आउँदैन ।’ ओसीका ससुरा समसुल मियाँ बाबु गुमाएका १४ र १२ वर्षका नातिहरूको अनुहार हेर्दा झलझली मारिएका ज्वाइँ सम्झिन्छन् । उनले मलिनो स्वरमा सुनाए, ‘ज्वाइँ भएको भए यति ठूलो संकट पर्दैनथ्यो ।’
डीएसपीबाट बढुवा भएर एसपी भएलगत्तै गत फागुनमा रौतहट प्रहरीको नेतृत्व सम्हाल्न आएका एसपी भूपेन्द्र खत्रीले नसुल्झिएका पुराना फाइलहरूको अनुसन्धान थालेका हुन् । उनले सुरुमै आलम जोडिएको घटनाको अनुसन्धान थाले । गत २५ गते फरहदवा गाउँबाट आफन्तीको बिहेमा निस्केका आलम उनकै मृतक काकाको सम्झनामा राजपुरबाट मूल बाटोमा निस्कने ठाउँमै बनाइएको शेख इद्रिस गेटबाट पक्राउ परे । कान्तिपुरसँगको कुराकानीमा एसपी खत्रीले घटनाको गम्भीर अनुसन्धान जारी रहेको बताउँदै भने, ‘गम्भीर विषय भएकाले अनुसन्धान नसकिएसम्म केही बोल्न मिल्दैन ।’
छोराको न्यायका निम्ति करिब १२ वर्षसम्म अनवरत दौडेका श्रीनारायणले छोराको मृत्युको पुष्टि हुने पर्याप्त आधार पाइसक्दा पनि काज किरिया गरेका छैनन् । उनले दोषीलाई कारबाही भएर न्याय नपाएसम्म किरिया नगर्ने सुनाए । भने, ‘मैले पण्डितसँग पनि सोधपुछ गरेँ । १२ वर्ष कटेर १३ वर्ष लागेपछि पनि किरिया गर्न हुन्छ भनेका छन् ।’ विष्णुभक्त रहेका उनले घटना पछिको वर्षौंसम्म अनेकन प्रलोभन, धम्की र दबाब सहेर पनि आफू न्याय खोज्न विचलित नभएको सुनाए । उनले न्यायका निम्ति लड्दा जम्मा भएको एक झोला कागजातको पोको खोले । त्यसमा घटनाबारे अखबारमा छापिएका समाचारका कटिङदेखि अदालतको आदेश र अनेकन सरकारी परिपत्र थिए अनि थियो मृतक छोराको त्रिलोकको गम्भीर अनुहार । उनले आँखाको डिलभरी भइसकेको आँसु पुछ्दै मलिनो स्वरमा भने, ‘भगवानले त सबै देखेकै होलान् । देर हुन्छ तर अन्धेर हुँदैन भन्ने विश्वासमा बाँचेको छु ।’

Page 3
समाचार

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

- राजेश मिश्र

(काठमाडौं) - प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको उम्मेदवारी दर्ता कात्तिक २१ मा र स्थानीय तहको उम्मेदवारी दर्ता कात्तिक २७ गते हुने भएको छ । तीनवटै तहका रिक्त ५२ पदका लागि एकैदिन मंसिर १४ गते उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगले शुक्रबार उपनिर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुनले प्रतिनिधिसभा/प्रदेशसभाका लागि चुनाव प्रचारप्रसारको अवधि कम्तीमा १५ दिन तथा स्थानीय तहका लागि कम्तीमा ८ दिन हुनुपर्ने भनेकाले मनोनयन दर्ताको मिति अलग–अलग भएको बताए । २०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रचारप्रसारका लागि २५ दिनको समय दिइएको थियो । यसपटक प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले प्रचारप्रसारका लागि १६ दिनको समय पाउनेछन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मनोनयनपत्र दर्ताका लागि कात्तिक २१ गते बिहान १० बजेदेखि अपराह्न साढे १ बजेसम्मको समय निर्धारण गरिएको छ । प्रमुख आयुक्त थपलियाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी मनोनयन दर्ता निर्वाचन हुने जिल्लाको सदरमुकामस्थित निर्वाचन कार्यालयमा हुनेछ । उम्मेदवारी मनोनयन भएकै दिन ३ बजेभित्र उम्मेदवारको सूची प्रकाशन गरिने, भोलिपल्ट २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते उजुरीउपर जाँचबुझ र नामावली प्रकाशनको कार्यक्रम तोकिएको छ । उम्मेदवारी फिर्ता लिन कात्तिक २४ गते बिहान १० देखि १ बजेसम्मको समय तोकिएको छ । त्यही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । २५ गते उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछन् ।
आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार स्थानीय तहतर्फ कात्तिक २७ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । त्यही दिन उम्मेदवारको सूची प्रकाशन गरिनेछ । २८ गते उम्मेदवारउपर उजुरी गर्ने, २९ गते नामावली प्रकाशन, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तोकिएको छ । कात्तिक १ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिनेछ । स्थानीय तहका उम्मेदवारले प्रचारप्रसारका लागि १० दिन समय पाउनेछन् । यसअघि १५ दिनको समय पाएका थिए । प्रमुख आयुक्त थपलियाले विभिन्न रिपोर्टहरूले प्रचारप्रसारको समय बढी हुँदा निर्वाचन खर्च बढ्ने देखाएकाले त्यसलाई घटाइएको बताए । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ । त्यस क्षेत्रबाट निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । प्रदेशसभातर्फ भक्तपुर १ (१) र बागलुङ २(२) मा उपनिर्वाचन हुन लागेको हो । भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछाने र बागलुङबाट निर्वाचित टेकबहादुर घर्तीमगरको निधनपछि ती स्थान रिक्त भएका हुन् । त्यस्तै, प्रदेशसभा ५ मा निर्वाचित सदस्य उत्तरकुमार ओलीको निधनका कारण प्रदेशसभा निर्वाचन क्षेत्र दाङ ३(२) मा उपनिर्वाचन हुँदै छ ।

समाचार

भुमरीमा शिवमाया!

संसद्को आयु ३ वर्ष बाँकी छँदै सभामुख महराको अप्रत्याशित बहिर्गमनले उपसभामुखमा तुम्बाहाङफेको यात्रा धरमरमा छ । उनी सभामुख बन्न सक्ने बाटो त छ तर राजनीतिक घटनाक्रमले त्यसमा अलि अप्ठ्यारो देखिएका छन् ।
- बिनु सुवेदी

(काठमाडौं)  - २०७४ चैत २ मा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर पाउनेभन्दा पनि आफैंले लिने हो ।’
चार दशकदेखि राजनीतिमा सक्रिय तुम्बाहाङफे यहाँको ‘संस्कार’सँग परिचित थिइन् । जोड्ने, घटाउने, उचाल्ने र पछार्ने चलन अरूतिर जस्तै उनी आबद्ध तत्कालीन एमालेमा पनि थियो । अहिले नेकपामा पनि त्यो प्रवृत्ति हटेको छैन । त्यसैले पार्टी राजनीतिमा आफूभन्दा पछि आएका र थोरै काम गरेकाहरू पनि भटाभट अघि बढ्दा कताकता अलमलिएझैँ महसुस गर्थिन् । राजनीतिक जीवन सुरु गरेको ३९ वर्षपछि भने उनी संसद्को दैलोभित्र छिर्न पाइन् । त्यो बीचमा पञ्चायत, बहुदल र लोकतान्त्रिक चरित्रमा संसद्का कैयौं अधिवेशन चलिसकेका थिए । तुम्बाहाङफेका लागि एउटा सुखद संयोग पनि यही बेला जुर्‍यो, प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भइन् ।
करिब चार दशकसम्म राजनीतिक चक्रव्यूहबाट उम्किएर आएकाले नै हुनुपर्छ, उनले संसद्लाई आफ्नो क्षमता देखाउने उपयुक्त थलो ठानिन् । शुक्रबार कान्तिपुरसँग तुम्बाहाङफे यही भनिरहेकी थिइन् । ‘उप हुँदैमा केही, कुनै पनि भूमिका नै हुँदैन भन्ने होइन, कानुनले दिएको भूमिका आफैंले पनि खोज्नुपर्छ,’ उनले भनिन्, ‘मैले त्यही गरेँ ।’ संसद्मा उनको अहिलेसम्मकै सक्रिय उपसभामुखको छवि छ तर यो संसद्को आयु झन्डै ३ वर्ष बाँकी छँदै सभामुख कृष्णबहादुर महराको अप्रत्याशित बहिर्गमनले उपसभामुखमा तुम्बाहाङफेको यात्रा पनि धरमरमा देखिएको छ । उनी एउटा सिँढी अझै उक्लिएर सभामुख बन्न सक्ने बाटो त छ तर राजनीतिक घटनाक्रमले त्यसमा अलि अप्ठ्यारो देखाएका छन् । तुम्बाहाङफे कानुनकी विद्यार्थी हुन्, राजनीति बांगोटिंगो बाटामा हिँड्छ भन्ने उनलाई पनि थाहा छ ।
तत्कालीन वाम गठबन्धनमा सभामुख माओवादी पक्षलाई परेको थियो । पार्टी एक भएर नेकपा बनिसकेको भए पनि कतिपय प्रक्रियागत कुरा नमिलेकाले सभामुख पद पूर्वमाओवादी पक्षकै भागमा पर्ने कतिपयको तर्क छ । यो तर्कसँग प्रधानमन्त्री र नेकपाको नेतृत्व सहमत हुने हो भने तुम्बाहाङफेको पद धरापमा छ ।
संविधानमा एउटै राजनीतिक दलबाट सभामुख र उपसभामुख बनाउन नपाइने व्यवस्था छ । पूर्वमाओवादी पक्षधरले सभामुख आफैंलाई चाहिने दाबी गर्दा तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा त दिनुपर्छ नै, पूर्वएमालेको पृष्ठभूमिबाट आएकाका लागि सभामुख बन्ने ढोका पनि बन्द हुनेछ । सभामुख नबनाउने हो भने ‘म राजीनामा दिन्नँ’ भन्ने तर्क उनी अघि सार्न पनि सक्छिन् तर राजनीतिक दलसम्बन्धी ऐनले संसद्को पदाधिकारीमा चयन हुनुलाई दल त्याग गरेको नमान्ने भएकाले ‘पार्टीको निर्देशन मान्दिनँ’ भन्न सक्ने अवस्था सम्भवतः आउनेछैन तर महराका कारण आफूलाई अप्ठ्यारामा पार्न नहुने तर्क तुम्बाहाङफेको छ । ‘महराको गल्तीमा मैले किन सजाय पाउने ?’ तुम्बाहाम्फेले आफू निकटहरूलाई यसो भन्न थालेकी छन् । उनको तर्कसँग पूर्वएमालेका केही नेता पनि सहमत छन् । पार्टी एकीकरण भइसकेकाले अब पनि पूर्वएमाले र पूर्वमाओवादी भनिरहन आवश्यक नभएको उनीहरूको जिकिर छ । नेकपामा उक्त समूह तुम्बाहाङफेलाई उपसभामुखबाट राजीनामा गराएर सभामुख नै बनाउने पक्षमा देखिएको छ तर त्यो मत उति बलियो छैन ।
यस बीचमा उपसभामुख तुम्बाहाङफेसँग प्रधानमन्त्री ओलीको एकपटक भेट भएको छ । गत आइतबार प्रधानमन्त्रीसँग आफैं समय लिएर गएकी उनले संसद्को पछिल्लो व्यवस्थापकीय र प्रशासनिक कामबारे जानकारी गराइन् । उनीहरूबीच संसद् अधिवेशन कहिले डाक्ने भन्ने विषयमा कुराकानी पनि भयो तर भावी सभामुखबारे छलफल नभएको उनले बताइन् । ‘सभामुख को बन्ने भन्नेबारे प्रधानमन्त्रीसँग मात्रै होइन, अरू कसैसँग पनि मेरो कुराकानी भएको छैन, उहाँहरूले सोध्नुभयो भने मेरो धारणा राख्नेछु,’ उनले भनिन् ।
पार्टीभित्र भने भावी सभामुखका लागि नाडी छाम्न सुरु भइसकेको छ । उनलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने कि भन्नेसम्मको छलफलले पनि नेकपा गर्माएको छ । अर्कातिर पूर्वमाओवादीभित्र पछि जोडिन आएका रामबहादुर थापा समूह र अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र मानिएका नेताहरूका समूहबीच भावी सभामुखका रूपमा आआफ्नो दाबी पेस गर्ने होडबाजी चलिरहेको छ । पूर्वएमाले समूह तुम्बाहाङफेका नाममा सर्वसम्मति हुँदैन भने अरू उपयुक्त पात्र खोजेर भए पनि सभामुख आफ्नै पक्षले राख्नुपर्ने पक्षमा छ । उनीहरूले पूर्वसभामुख सुवास नेम्बाङलाई त्यस्तो उपयुक्त पात्रका रूपमा हेरिरहेको स्रोतहरू बताउँछन् । ‘महरा सभामुख हुँदा सरकारका कतिपय काममा संसद्बाट सहयोग भएन, त्यसैले पनि हामी प्रधानमन्त्रीले विश्वास गर्न सक्ने मान्छे नै सभामुख हुनुपर्छ भन्ने पक्षमा छौं,’ पूर्वएमालेका एक नेताले कान्तिपुरसँग भने ।
तुम्बाहाङफेले आफू मात्रै होइन, सातै प्रदेशसभाका उपसभामुखलाई आफ्नो जिम्मेवारीमा अब्बल बनाउन भूमिका खेलिन् । उपसभामुखहरूको भेला गराइन्, नेतृत्व लिन आफैं अग्रसर हुनुपर्छ भन्ने निचोडमा पुग्ने छलफलको अगुवाइ गरिन् । पुरुषै पुरुष नेताहरूका बीचमा हुँदा पनि अग्रसर भएर बोलिन्, आफ्ना कुरा निर्धक्क भएर राखिन् ।
अहिले तुम्बाहाङफे राजनीतिक दाउपेच र भागबन्डाको भुमरीभित्र छिन् । ‘सभामुख पदको दाबेदार हो’ भन्ने प्रश्नमा उनको जवाफ केही छैन । ‘केही समयअघि भएको उपसभामुखको भेलाले अवसर पाउँदा उपसभामुख जुनसुकै पदमा बसेर पनि भूमिका निर्वाह गर्न सक्छन् भन्ने निष्कर्ष निकालेको छ,’ उनी कूटनीतिक जवाफ दिन्छिन् तर पछिल्ला दौडधुपले संसद्मा तुम्बाहाङफेको जबर्जस्त उपस्थितिलाई छायामा पार्दै लगिरहेका छन् । परिपक्व भइनसकेको पार्टी एकीकरणको शक्ति सन्तुलनको भुंग्रोमा उनी पर्ने सम्भावना धेरै छ ।

समाचार

अस्पतालमा महराको ‘मौनता’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले स्वास्थ्य प्रतिकूलताको कारण देखाई बयान दिन ‘अस्वीकार’ गरेका छन् । पक्राउ परेको चार दिनपछि अस्पताल भर्ना भएका महराले ‘स्वास्थ्य अवस्था प्रतिकूल रहेको’ भन्दै बयानमा भाग लिन अस्वीकार गरेका हुन् ।
बयान सुरु हुन नसक्दा प्रहरीले थालेको अनुसन्धान प्रक्रिया अघि बढ्न सकेको छैन । ‘आरोपित अस्पतालमा भर्ना भएर उपचार गरिरहेको अवस्था हो, स्वास्थ्यले साथ नदिएका कारण बयान सुरु हुन सकेको छैन,’ सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले कान्तिपुरसँग भने, ‘आशा गरौं, स्वास्थ्य अवस्था सुधार होला । आइतबार बयान लिने र म्याद थपका लागि अदालतमा पेस गर्ने हाम्रो तयारी छ ।’
महरालाई पक्राउ गरी थुनामा राख्न जिल्ला अदालत काठमाडौंले दिएको १३ दिनको समयसीमा शुक्रबार सकिँदै छ । सरकारी वकिल कार्यालयका प्रमुख खनालले प्रहरीको अनुसन्धानमा रहेको भन्दै अरू विवरण खुलाउन चाहेनन् । अर्का एक सरकारी वकिलका अनुसार महराले ‘मौन रहने अधिकार’ प्रयोग गर्न चाहेका छैनन् । फौजदारी अभियोग लागेका हरेक आरोपितलाई घटनाका विषयवस्तु र प्रश्नबारे कुनै उत्तर नदिई ‘मौन रहने’ अधिकार रहन्छ । मौन रहन चाहेको भए स्पष्ट रूपमा भन्न आग्रह गर्दा महराले आफ्नो त्यस्तो रुचि नभएको बताएको कार्यालय स्रोतले जनायो । ‘उहाँले स्पष्ट रूपमा बयान दिन तयार छु भन्नुभएको छ तर आफ्नो स्वास्थ्यमा केही सुधार होस् भन्ने जवाफ दिनुभएको छ,’ स्रोतले भन्यो । प्रहरी र सरकारी वकिलले आइतबारसम्म पर्खने रणनीति लिएका छन् । आइतबार अदालतमा म्याद थप्ने बेलामा समेत उनी बयानका लागि तयार नभए आफ्नै ढंगले अनुसन्धान प्रतिवेदन तयार पार्ने उनीहरूको रणनीति छ । प्रहरीले बयानबाहेक उजुरीमाथिको अनुसन्धान भने जारी रहेको जनाएको छ ।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आफूमाथि बलात्कार भएको सार्वजनिक गरेपछि महराले सभामुखबाट राजीनामा दिएका थिए । त्यसपछि उनले आफूमाथि कुनै दुर्व्यहार नभएको अभिव्यक्ति दिएकी थिइन् । पछि फेरि उनैले दिएको किटानी जाहेरीका आधारमा महरा पक्राउ परेका थिए । किटानी जाहेरीपछि ती ‘पीडित’ ले आफूलाई झुक्याएर निवेदन दिन लगाइएको प्रतिक्रिया दिएकी थिइन् ।

Page 4
वाग्मती प्रदेश

प्राधिकरणको टेन्डरमा लेखाको छानबिन

- ऋषिराम पौड्याल

(काठमाडौं) - चिलिमे–त्रिशूली प्रसारण लाइनबाट प्रभावितलाई लक्ष्य गरेर विद्युत् प्राधिकरणले नुवाकोटमा भौतिक संरचना निर्माणका लागि अघि बढाएको टेन्डर प्रक्रियामाथि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । सार्वजनिक खरिद ऐनमा उल्लेख भएका प्रक्रियालाई बेवास्ता गरेर सीमित ठेकेदारलाई फाइदा पुग्ने गरी टेन्डर फारम दर्ता गराएको उजुरी परेपछि समितिले छानबिन थालेको हो ।
जर्मन सरकारको अनुदानमा निर्माण गरिने संरचनाका लागि टेन्डर फारम दर्ता गर्दा अनलाइन प्रणालीको पालना नगरेको र प्राधिकरणले सीमित ठेकेदारलाई मात्र अवसर दिने प्रपञ्च रचेको उजुरीमा उल्लेख छ । भूकम्पबाट क्षतिग्रस्त विद्युत् क्षेत्रको सुधारका लागि जर्मन सरकारले केएफडब्लू विकास बैंकमार्फत उपलब्ध गराएको सहयोगबाट रसुवा–नुवाकोट विद्युत् प्रणाली पुनर्निर्माण तथा सुधार आयोजनाअन्तर्गत प्रभावितका लागि स्वास्थ्यचौकी, विद्यालय, खानेपानी, सामुदायिक भवन, मन्दिर, गोरेटो बाटो, तरकारी संकलन केन्द्रलगायत करिब १० करोड बराबरको संरचना निर्माणका लागि गत असार ६ मा पत्रिकामा सूचना प्रकाशित गरेर टेन्डर आह्वान गरिएको थियो ।
सार्वजनिक खरिद नियमावली ०६४ दफा १४६ को १, २, ३ र ४ मा उल्लिखित प्रावधानलाई बेवास्ता गरी पुरानै प्रणाली अपनाएर टेन्डर फारम दर्ता गरिएको थियो । स्काइ बिल्डर्स र धुलिखेल–ज्वादान्वा कन्स्ट्रक्सन प्रालिले साउन २१ गते क्रमशः ११ः५६ मिनेट र ११ः५८ मिनेटमा फारम दर्ता गराएका थिए । उक्त दिनको १२ बजेसम्म मात्र दर्ताको मिति र समय तोकिएको थियो । आफूलाई फारम दर्ता गर्न छेकथुन गरिएको भन्दै रोशन–लिक जेभीले लेखा समिति र अनुगमन कार्यालयमा उजुरी दिएको थियो ।
टेन्डर कार्यान्वयनको जिम्मेवारी लिएको प्राधिकरणको योजना तथा प्राविधिक सेवाअन्तर्गत रसुवा–नुवाकोट विद्युत् प्रणाली पुनर्निर्माण तथा सुधार आयोजनाका प्रमुख प्रकाश राउतले आफूहरूलाई कुनै ठेकेदारले फारम दर्ता गराउन नपाएको जानकारी नभएको दाबी गरे । ‘ठेकेदारलाई त्यस्तो अवस्था हो भने फोनबाटै भए पनि जानकारी गराउँदा हुन्थ्यो,’ उनले भने, ‘तत्कालै अरू निकायमा पनि यसको जानकारी दिन सकिन्थ्यो ।’
टेन्डर दर्ता प्रक्रियामा २ वटा मात्र सहभागी हुनुले पनि मिलेमतोको शंका उत्पन्न भएको स्रोतको दाबी छ । बल प्रयोग गरेर सबैलाई टेन्डर प्रक्रियामा सहभागी हुन नदिने विकृति बढेपछि सरकारले अनलाइन प्रणाली अनिवार्य गरेको थियो । नियमावलीका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिकामा ६० लाखभन्दा माथिको लागत अनुमान भएका योजनाको अनलाइनमार्फत टेन्डर फारम दर्ता गर्नुपर्ने अनिवार्य गरेको छ । लेखा समितिका सचिव रोजनाथ पाण्डेका अनुसार छानबिन क्रममा समितिले सार्वजनिक खरिद ऐन अनुगमन कार्यालयको राय मागेर पेस गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने अनलाइन प्रणालीलाई किन बेवास्ता गरियो र ठेकेदारले सहज रूपमा फर्म दर्ता गर्न किन पाएनन् भन्ने प्रश्न उब्जेको उनले बताए । ‘राय के आउँछ, हेरेर त्यसका आधारमा थप अनुसन्धान अघि बढ्छ,’ उनले भने ।
अनुगमन कार्यालयका निर्देशक सुवास सिवाकोटीले सार्वजनिक खरिद ऐन, नियमावली र निर्देशिका सबैले पालना गर्नुपर्ने बताए । यो अनिवार्य प्रावधान हो,’ उनले भने, ‘हरेक कार्यालय प्रमुखका लागि आचारसंहिता पनि हो, कसैले बेवास्ता गर्‍यो भन्दैमा नियम मिच्न पाइँदैन ।’


प्राधिकरणले दाता पर्खने
टेन्डर प्रक्रिया विवादमा परेपछि जर्मन सरकारमार्फत सहयोग प्रदान गर्ने केएफडब्लू बैंकका प्रतिनिधिसँग परामर्श गरिने भएको छ । टेन्डर प्रक्रियामा ढिलाइ भए पनि तत्कालै निकास नदिए दाताले सहयोग रोक्न सक्ने मौखिक जानकारी गराएपछि प्राधिकरणले परामर्श गर्न लागेको हो, स्रोतले भन्यो ।
आयोजना प्रमुख राउतले दातृनिकायका प्रतिनिधि नोभेम्बरमा नेपाल आउने ‘सेड्युल’ पाएको जानकारी दिए । ‘अब उहाँहरूसँग बसेर छलफल गर्ने सोचमा छौं,’ उनले भने, ‘भूकम्पपछि प्राप्त रकम ट्रान्सिमिसन लाइन निर्माणमा लगाइएको हो । ट्रान्सिमिसन बनाउन प्रयोग गरिएको रकम जर्मनको मात्र नभई अरू निकायको पनि छ । उक्त रकम अनुदान मात्र नभई ऋण सहयोग पनि हो ।’
टेन्डर गरिएको स्थानीय आयोजनाका लागि बन्ने संरचनाको लगानी रकम भने सबै जर्मन सरकारको अनुदान हो । ‘दाताबाट अनुमोदन गराएर टेन्डर गरेकाले अनलाइन प्रणाली प्रयोग गर्नुपर्छ भन्ने लागेन,’ राउतले भने, ‘टेन्डर फारम खोले पनि विवाद उत्पन्न भएकाले कसलाई दिने निर्णय गरेका छैनौं ।’


उजुरीकर्ता नै मिलेमतोमा
लेखा समितिमा उजुरी गर्ने रोशन–लिक जेभी कन्ट्रक्सनले फर्म दर्ता गराउने अवसर पाएका दुई कम्पनीसँगै मिलेमतो गरेको छ । सार्वजिनक खरिद ऐन मिचेको र आफूले टेन्डर फारम दर्ता गर्न नपाएको भन्दै लिखित जानकारी गराएको रोशन–लिकले पुनः अर्को पत्र लेखेर आफूले दिएको उजुरी फिर्ता लिएको छ ।
लेखा समितिले छानबिन गर्न थालेपछि उजुरीकर्ताले प्रक्रिया ठीक भएको लिखित जानकारी गराएपछि मिलेमतोको शंकालाई पुष्टि गरेको समितिका एक कर्मचारीले बताए । रोशन कन्स्ट्रक्सनले आफूले गत साउन २८ मा दिएको निवेदन रद्द गरिपाऊँ भन्ने बेहोराको निवेदन समितिमा दर्ता गराएको छ । ‘जसले उजुरी दियो, उसैले यस्तो निवेदन दिएकाले टेन्डर फर्म दर्तापछि झन् अर्को मिलेमतो भएको देखिन्छ,’ समितिका अधिकारी भन्छन्, ‘यसमाथि थप छानबिन हुनुपर्ने देखिन्छ ।’
स्रोतका अनुसार लेखा समिति अनुगमन कार्यालयले दिने राय र प्राधिकरणले पेस गर्ने ‘डकुमेन्ट’ पर्खेर बसेको छ । अनुगमन कार्यालय स्रोतका अनुसार कानुनबमोजिम टेन्डर प्रक्रिया अघि बढाउन भनिसकिएको छ तर त्यसको लिखित भनाइ नआएकाले प्राधिकरण अलमलमा रहेको देखिन्छ ।

वाग्मती प्रदेश

दोहोरो स्रेस्ता राखी विद्यालयको जग्गा बिक्री

(काभ्रे) - मालपोत कार्यालय काभ्रेको कमजोरीको फाइदा उठाउँदै जग्गाको दोहोरो स्रेस्ता राखेर विद्यालयको ९ रोपनी जग्गा व्यक्तिले बिक्री गरेका छन् । साविक नासिकास्थान साँगा १ मा रहेको चक्रज्योति माध्यमिक विद्यालयको ९ रोपनी ५ आना २ पैसा १ दाम जग्गा स्थानीय शम्भुबहादुर थापा र उनका भाइहरूले बिक्री गरेका हुन् ।
विद्यालय र बनेपा नगरपालिका–१३ ले दोहोरो स्रेस्ता हटाई दिन भन्दै मालपोत कार्यालय काभ्रेपलाञ्चोकलाई ०७६ असोज ८ मा पत्र लेखेको थियो । सोही पत्र आधारमा मालपोतले कैलाश विकास बैक, मंगलबजार, ललितपुर, टेम्पल ट्री डेभलपर्स प्रालि काठमाडौं महानगरपालिका १, लक्ष्मी प्रसार्इं शनिश्चरे ७ झापा र शम्भुबहादुर थापा जनागालका नाममा ०७६ असोज १० मा १५ दिने पत्र काटेको थियो । सोही जग्गाको दोहोरो स्रेस्ता हटाउनतर्फ कारबाही गर्ने र कारबाहीको टुंगो नलागुन्जेलसम्म उपरोक्त कित्ताका जग्गाहरू मालपोत ऐन २०३४ को दफ (८) बमोजिम रोक्का राख्ने निर्णय गरेको छ ।
थापाले मुद्दा पैरवी चलिरहेकै अवस्थामा ०३१ असार १९ मा कित्ता नम्बर १२७ को जग्गा कित्ताको हक आफ्नो नाममा कायम गरी सो प्रमाणपुर्जा लिए पनि मुद्दा हारेपछि मालतपोतले दोहोरो स्रेस्ता राखिदिएकोले विद्यालयको जग्गा बिक्री भएको हो । ०३९ असोज १० मा अदालतको आदेश आधारमा मालपोत कार्यालय काभ्रेले कित्ता नम्बर १३३ को ९ रोपनी ८ आना ३ पैसा १ दाम भीर, कित्ता नम्बर १३४ को ७ रोपनी २ आना १ पैसा १ दाम र कित्ता नम्बर १२७ मा ९ रोपनी ५ आना २ दाम १ पैसा भीर जग्गा दर्ता गरी लालपुर्जा विद्यालयको नाममा कायम गरिएको थियो । तर, स्रेस्ता नहटाएको कारण विद्यालयको उक्त जग्गाको लालपुर्जा थापाको नाममा समेत थियो । मुद्दा हारे पनि आफ्नो हातमा लालपुर्जा भएपछि थापाले कित्ताकाट गरी दिएको विद्यालयमा रहेको कित्ता नं १२७ को जग्गा भाइ केशव र वासुदेवले शनिश्चरे–७, झापाका लक्ष्मी प्रसाईं र टेम्पल ट्री डेभेलपर्सलाई बिक्री गरेका थिए । प्रसार्इं र उनको कम्पनीले ती जग्गा प्लटिङसमेत गरिसकेका छन् । ०५५ पुस २५ मा शम्भुबहादुर थापाले भाइहरू केशव र वासुदेवसमेतलाई कित्ता नम्बर १२७ को जग्गाबाट बकसपत्र गरी कित्ताकाट गरी दिए । चक्रज्योति माविको नाममा समेत लालपुर्जा भएको उक्त जग्गा नापी कार्यालय काभ्रेले पटकपटक कित्ताकाट गरेको छ । केशवको नाममा कित्ता १३४९ र वासुदेवको नाममा १३५० र १३५१ कित्ता कायम भयो । शम्भुबहादुरलाई कित्ता १३५२ कायम गरी जग्गा बाँकी राखियो । कित्ता १३४९ मा १० आना, १३५१ मा २ रोपनी ७ आना १ पैसा, १३५० मा ३ रोपनी २ आना जग्गा कायम थियो । आफ्नो नाममा भएका दुई कित्ता केशवले ०७४ जेठ ११ मा लक्ष्मी प्रसाईंलाई बिक्री गरे । फेरि ०७६ साउन २३ मा वासुदेव थापाको नामको कित्ता १३५१ को जग्गा उनै लक्ष्मी प्रसार्इं प्रोपाइटर रहेको टेम्पल ट्री डेभलपर्सका नाममा खरिद भएको छ । विद्यालयको उक्त ६ रोपनी ३ आना १ पैसा जग्गा लक्ष्मी प्रसाईंले वासुदेव थापासँग खरिद गरे । केशवबहादुरमार्फत खरिद गरेको जग्गा लक्ष्मी प्रसाईंले कैलाश विकास बैंक मंगलबजार ललितपुरका नाममा रोक्का राखी २ करोड ऋण स्वीकृत गराएका छन् । स्थानीयको अवरोधका बीच प्रसार्इंले जग्गामा प्लटिङ गरिरहेका छन् ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिभक्त श्रेष्ठले भने, ‘मलाई नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्ति गरेलगत्तै विद्यालयको नाममा भएको जग्गाको नापीबाट नक्सा लिन जाँदा जग्गा बिक्री भएको थाहा पाएँ,’ उनले भने, ‘लगत्तै मालपोतमा गएर बिक्री भएको जग्गा रोक्का राखी फिर्ता गर्न निवेदन दर्ता गरायौं ।’ मालपोतले काभ्रेले विद्यालयको जग्गा बिक्री गर्न नसक्ने भनेको भए पनि विश्वास नभएको उनले बताए । प्रधानाध्यापक चन्द्रप्रभा शाक्यले विद्यालयको जग्गा संरक्षणका लागि मालपोतमा निवेदन दिएको बताइन् । शम्भुबहादुरले भाइहरूलाई अंशबापत् जग्गा बकस गरी दिएको जग्गा आफ्नो भएको दाबी गरे । ‘०२२ मा खरिद गरेको जग्गा विद्यालयलाई जग्गा दान गरेको हो, १२७ नम्बर कित्तामा कतै झगडिया जनिएको छैन, त्यैसेले नापी गरेर लालपुर्जा बनाएको हो,’ जिल्ला अदालतमा मुद्दा चल्दा १३७ नम्बर कित्तामा मुद्दामा चलेको भए पनि बाग्मती अञ्चल अदालतमा १२७ नम्बर कित्तामा फैसला भएको शम्भुबहादुर थापाले बताए ।

माल नगेन्द्र अधिकारी

वाग्मती प्रदेश

धमाधम ठडिँदै भवन

- कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक (कास)– जिल्लाको तीन नगर र नौ गाउँपालिकाभर वैदेशिक र संघसंस्थाको सहयोगमा धमाधम विद्यालय भवन ठडिन थालेका छन् । जिल्लाभर भत्केका ५ सय २८ मा करिब दुई सय ९० विद्यालयको सुविधासम्पन्न भवन बनिसकेको जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) ले जनाएको छ । तीमध्ये दुई सय ८७ वटा विद्यालय विभिन्न संघसंस्थाले बनाइरहेकोमा हालसम्म एक सय ८७ भवन बनिसकेका छन् । बाँकी दुई सय विद्यालय धमाधम बनिरहेका छन् ।
बाह्रबिसे नगर वडा ५ र ६ मा जर्मनको र नमस्ते नेपालको सहयोगमा आठवटा भवन ठडिए । प्रदेशका पर्यटन तथा वन मन्त्री अरुण नेपालसहित दातृनिकाय जर्मन र होल्यान्ड पाहुनाले एकैसाथ विद्यालय जनप्रतिनिधि, स्थानीयलाई जिम्मा लगाए । ‘चार वर्षपछि बालबालिकाले बल्ल पक्की भवन पाएका छन्, त्यसैको खुसीले उनीहरू खुब रमाएका छन्,’ बाह्रबिसे नगरस्थित सिर्गाचे आधारभूत विद्यालयकी प्रधानाध्यापक विष्णुदेवी पराजुलीले भनिन् ।
गातीस्थित कालीदेवी माविबाहेक सेतीदेवी, गोरखनाथ, बालहित, सिंगार्चे, श्री खडादेवीसहित आठ विद्यालयले सुविधा सम्पन्न भवनसँगै शौचालय पनि पाएका छन् । भूकम्पको तीन वर्षसम्म अस्थायी टहरामा सञ्चालन भइरहेका विद्यालय चार वर्षपछि आफ्नै भवन पाएका छन् । ‘सरकारी निकाय र विदेशी, संघसंस्थाको हातेमालोमा विद्यालय पुनर्निर्माणले फड्को मारेको हो, नभए दुर्गम क्षेत्रमा आवश्यक पूर्वाधारको समस्या थियो,’ जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) का कार्यालय प्रमुख यमबहादुर खड्काले भने ।

Page 5
उपत्यका

टोल–टोलमा शिशु स्याहार

नगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार केन्द्रमा छोराछोरी छाडेर अभिभावक काममा जान्छन्
- लीला श्रेष्ठ
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार केन्द्रमा बालबालिका । तस्बिर ः लीला/कान्तिपुर

(भक्तपुर) - भक्तपुर नगरपालिका–७ गोल्मढीकी रञ्जना तचामो दम्पती फर्निचरमा काम गर्छन् । उनकी २१ महिने छोरी घरनजिकै नगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार तथा बाल विकास केन्द्र गोल्मढीमा भर्ना गरिएको छ । ‘घरमा हेर्ने मान्छे छैन । छोरीलाई १६ महिनादेखि शिशु स्याहारमा राखेका छौं,’ उनले भनिन्, ‘नगरपालिकाले शिशु स्याहार खोलिदिँदा हामीले ढुक्कले काम गर्न पाएका छौं ।’
रञ्जनाको जस्तै गोल्मढीकै कृष्णा किसीको आफ्नै रेस्टुरेन्ट छ । २३ महिने छोरीलाई शिशु स्याहारमा राखेकी किसी दम्पती दिनभर रेस्टुरेन्टमै व्यस्त हुन्छन् । छोरीलाई बिहान साढे ९ बजे शिशु स्याहार पुर्‍याएपछि बेलुका ५ बजेसम्म ढुक्क हुने उनी बताउँछिन् । नहोस् पनि कसरी ? केन्द्रमा बालबालिककालाई पर्याप्त खेलौना राखिएका छन् ।
टीभी स्क्रिनबाट बालकेन्द्रित सामग्री देखाइन्छन् । स्याहार गर्ने २ जना सहयोगी र २ महिला शिक्षक हुन्छन् । ‘घरमा बच्चा हेर्ने मान्छे राख्दा मासिक १२ देखि १३ हजार रुपैयाँ छुट्टै तलब दिनुपर्थ्यो, अहिले केन्द्रमा १ हजार रुपैयाँले खान र सरसफाइमा गरिदिन्छ,’ उनले भनिन्, ‘हामी त सन्तुष्ट छौं । ढुक्कले काम पनि गर्न पायौं ।’ शिशु स्याहारमा गएदेखि छोरीले खेल्न, बोल्न, पढ्न र खानेकुरामा समेत चासो दिने गरेको उनले बताइन् ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार तथा बाल विकास केन्द्रबाट रञ्जना र कृष्णाले जस्तै २ सय ८५ दम्पती लाभान्वित भएका छन् । कार्यालय समयभित्र आमाबाट हेरचाह तथा रेखदेख पाउन नसक्ने अभिभावकका शिशु सहज वातावरणमा हुर्किन पाएका छन् । भक्तपुर नगरपालिका शिशु स्याहार तथा बाल विकास केन्द्र शाखा प्रमुख दीपेन्द्र प्रजापतीले नगरका बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा समेत सहयोग पुगोस् भनेर टोल–टोलमा यस्तो केन्द्र सञ्चालन गरिएको बताए । ‘बच्चाकै कारण आमा कामबाट वञ्चित हुन नपरोस्, महिलाको श्रमशक्ति जोगियोस् भनेर केन्द्र सञ्चालन गरेका हौं,’ नगरप्रमुख सुनील प्रजापतीले भने, ‘नगरपालिकाले शिशु स्याहारदेखि विश्वविद्यालयसम्मको शिक्षा प्रदानको प्रयास थालेको छ ।’
नगरप्रमुख प्रजापतीका अनुसार २०५४ को स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिले तत्कालीन १७ वटै वडामा १/१ वटा शिशु स्याहार केन्द्र स्थापनाको अवधारणा ल्याएका थिए । ‘त्यसबेला नगरपालिकाले ६ वटा शिशु स्याहार तथा बाल विकास केन्द्र सञ्चालनमा ल्यायो तर, झन्डै दुई दशक जनप्रतिनिधि नहुँदा शिशु स्याहार व्यवस्थित थिएन,’ उनले भने, ‘हामी निर्वाचित भएपछि व्यवस्थित गर्न थाल्यौं ।’ शिशु स्याहार केन्द्रलाई सुधार र थप व्यवस्थित गर्न यस वर्ष एक करोड बजेट छुट्याइएको उनले बताए । शिशु स्याहार केन्द्र नियमत र व्यवस्थित गर्न छुट्टै शाखासमेत खोलिएको छ । नगरको ६ वटा शिशु स्याहार तथा बाल विकास केन्द्रमा २ सय ८५ शिशु छन् । ४० जना शिशु क्षमताको ६ केन्द्रमा २४ कर्मचारी छन् । नगरपालिकाकै भवनमा शिशु स्याहार केन्द्रहरू सञ्चालित छन् । एउटा केन्द्रमा २ शिक्षिका र २ सहयोगीले खाना पकाउने, खुवाउने, सरसफाइ गर्छन् । केन्द्रमा राखिएका शिशुलाई समयमा खाना खुवाउने, सुताउने, उठाउने, सरसफाइ गर्ने, खेल्ने तथा संगीत सिकाउने गर्छन् । ‘शिशुलाई श्रव्य–दृश्यमार्फत् अक्षर उच्चारण सिकाउने कामलाई प्राथमिकतामा राखेका छौं,’ शिशु स्याहार तथा बाल विकास केन्द्र गोल्मढीकी शिक्षिका अनिता सुवालले भनिन् । शिशुलाई नेपाली, अंग्रेजी र स्थानीय भाषामा उच्चारण सिकाउने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले शिशुको सर्वाङ्गिण विकासको लागि खानाको परिकारलाई समेत ध्यान दिएको नगरपालिकाले जनाएको छ । ‘६ वटै केन्द्रका शिशुले दैनिक २ पल्ट एकै किसिमको खाना खान्छन्,’ शिशु स्याहार तथा बाल विकास केन्द्र शाखा प्रमुख प्रजापतीले भने । ६ वटै शिशु स्याहार केन्द्रमा दिइने खानाको परिकार पनि एउटै छ । आइतबार अण्डा, दूध, जाउलो, सोमबार दूध, पाउरोटी, जाउलो खुवाइन्छ । मंगलबार दूध, बिस्कुट, जाउलो बुधबार फलफूल, दुध, जाउलो, बिहीबार दूध, पाउरोटी, जाउलो र शुक्रबार खीर खुवाउने व्यवस्था रहेको केन्द्रले जनाएको छ । शिशु केन्द्रमा कार्यरत कर्मचारीलाई सरकारले तोकेको सुविधा दिएको केन्द्रका प्रमुख प्रजापतीले बताए ।
शिशु स्याहार केन्द्रलाई नगरको १० वटै वडामा विस्तार गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ । हाल भक्तपुर–१ भार्वाचो, वडा नम्बर ४ मंगलतीर्थ, वडा नम्बर ७ गोल्मढी र इनाचो (खंचा), वडा नम्बर ६ भोलाछें र वडा नम्बर ८ लिवालीमा शिशु केन्द्र सञ्चालित छन् । नगरपालिकाको पूर्ण निगरानीमा सञ्चालन गर्ने गरी भार्वाचो, जेलां, कमलविनायक, खौमालगायतमा केन्द्र स्थापना गर्न अध्ययन तथा छलफल भइरहेको शाखा प्रमुख प्रजापतीले बताए । ‘निजी लगानीमा सञ्चालन भएको शिशु स्याहार केन्द्रसँग हामी प्रतिस्पर्धा गर्न योग्य भएपछि थप वडामा पनि केन्द्र बिस्तार गर्छौं,’ मेयर प्रजापतीले भने, ‘अहिले निजीले १० हजार पनि पनि लिने गरेका छन्, हामीचाहिँ एक हजार लिएर नगरबासीका छोराछोरीको स्याहार गर्ने व्यवस्था गरेका छौं ।’
केन्द्रसँगै बाल कक्षा (यूकेजी/एसकेजी) को माग अभिभावकहरूको रहेको नगरपालिकाले जनाएको छ । ‘घरनजिकै शिशुको राम्रो रेखदेख देखेपछि अभिभावकको अपेक्षा बढेको छ,’ शिशु केन्द्र शाखा प्रमुख प्रजापतीले भने, ‘कक्षाको क्षमता बढाउने अनुरोध अभिभावकको छ ।’
नगरपालिकाले शिशु केन्द्रलाई थप व्यवस्थित बनाउन निर्देशिकाको खाकासमेत तयार गरेको छ ।

उपत्यका

घरभाडाका कारण शुल्क

- सीमा तामाङ

(ललितपुर) - लक्ष्मी मरेटा खाजा पसल छ । बिहानदेखि बेलुकासम्म खाजा पसलमा दुवै जना व्यस्त हुन्छन् । छोरी विद्यालाई भने ललितपुर महानगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार केन्द्रमा भर्ना गरेकी छन् । यसअघि उनलाई निजी मन्टेश्वरीमा भर्ना गरेक थिइन् । महँगो शुल्क तिरेर पनि राम्रो सेवा नपाएपछि उनले महानगरले सञ्चालन गरेको विद्यालयमा भर्ना गरेकी हुन् । लक्ष्मीले अहिले खानाको नौ सय र मासिक शुल्क ६ सय रुपैयाँ तिर्ने गरेकी छन् । निजीमा दुई हजारभन्दा बढी तिर्थिन् । महानगरको शिशु स्याहार केन्द्र सुविधा सम्पन्न भएपछि बालबालिका पनि खुसी छन् । ‘सुरूका केही दिन स्कुल नजाने भनेर रोए पनि त्यसपछिका त्यस्तो भएन,’ ह्यान्डी क्राफ्टका काम गर्ने रविन महर्जनले भनिन्, ‘अहिले बिरामी हुँदा र बिदाको दिन पनि स्कुल जाने भनेर जिद्दी गर्ने गर्छन् ।’ २ वर्ष पुगेको श्रयस हाँसीखुसी स्कुल आउँछन् । बाबुआमाले जस्तै स्याहार गरेकोले काममा जाँदा पनि ढुक्क हुने गरेको उनले बताइन् ।
ललितपुर महानगरको समाज कल्याण महाशाखाअन्तर्गत ८ बाल विकास केन्द्र सञ्चालनमा छन् । महानगरको वडा नम्बर २० मा दुई ओटा, १७, १४, ४, ८,५, १६ मा यस्ता बाल विकास केन्द्र सञ्चालनमा छन् । ०५७ सालदेखि नै यस्ता बाल विकास केन्द्र सञ्चालनमा रहेको महाशाखाकी शाखा अधिकृत सरिता महर्जनले बताइन् । महाशाखाले सबै केन्द्रमा २ र वडा नम्बर ४ र २० मा ३ जनाको बजेट दिएर बालबालिकाको स्याहार गर्ने व्यवस्था मिलाएको छ । महानगरपालिकाले शिक्षकको तलब, अभिभावक भेला गर्न ७ हजार, शैक्षिक सामग्रीका लागि १० हजार र शिक्षकलाई तालिमसमेत दिने गरेको छ ।
वडा नम्बर ५ को थसिखेलमा रहेको बाल विकास केन्द्रमा पहिले शुल्क लिइने गरे पनि अहिले वडा कार्यालयले दिने भएपछि निःशुल्क रूपमा केन्द्र सञ्चालन गरिरहेको नानीमाया कपालीले बताइन् । स्याहार केन्द्र सञ्चालन गर्न गत वर्ष वडा कार्यालयले १ लाख ७५ हजार रुपैयाँ बजेट नै छुट्याएको थियो । यस वर्ष पनि योजना बनिरहेको छ । त्यस्तै वडा– ८ बालकुमारीनजिकै रहेको केन्द्र भाडाको घरमा सञ्चालन गरिएको छ । यहाँ भने शुल्क लिने गरेको छ । ‘घर भाडा तिर्नुपर्ने भएकोले न्यून शुल्क लिने गरेका छौं,’ केन्द्रकी प्रमुख लक्ष्मी महर्जनले भनिन् । वडा नम्बर २० मा सञ्चालन गरिएको केन्द्रका शिक्षक गंगा महर्जनले बच्चालाई रङ भर्न, रङ चिन्न, चाडपर्व, तरकारी, फलफूलको नाम चिनाउने गरेको बताइन् ।

उपत्यका

विदेशी सम्बन्धनका कलेजलाई मापदण्ड

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– विदेशी शिक्षण संस्थाबाट सम्बन्धन लिएर मापदण्ड पूरा नगरी चलेका कलेज बन्द हुने भएका छन् । विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव देवराज अधिकारीको संयोजकत्वमा गठित अध्ययन
कार्यदलले भौतिक, शैक्षिकलगायतका पूर्वाधार पूरा नगरेका शिक्षण संस्था बन्द गर्न सुझाव दिएअनुरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड तयार गरिरहेको छ ।
शिक्षा मन्त्रालयमा दर्ता भएर विदेशी शिक्षण संस्थाबाट सञ्चालित कलेज ९५ वटा छन् । कतिपय कलेजले मन्त्रालयको स्वीकृतिबिनै शैक्षिक कार्यक्रम चलाउँदै आएका छन् । ‘मन्त्रालयले विदेशी शिक्षण संस्थाबाट सम्बन्धन लिएर सञ्चालित कलेजका विषयमा मापदण्ड बनाउँदै छ,’ उच्चशिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले उनले भने, ‘छिट्टै मापदण्ड स्वीकृति गराएर कार्यान्वयनमा जान्छौं ।’
कार्यदलले अध्ययनका क्रममा ती शिक्षण संस्थाको अनुगमनसमेत गरेको थियो । अनुगमनकै आधारमा ए लेभलका कार्यक्रम सञ्चालन गर्ने ९ वटा शिक्षण संस्थालाई बन्द गराउन कार्यदलले सिफारिस गरेको छ । ए लेभल चलाउने शिक्षण संस्थाहरूले शैक्षिक मापदण्ड पूरा नगरेका कारण बन्द गराइने जानकारी सापकोटाले दिए ।
मन्त्रालयले भौतिक पूर्वाधार, शिक्षण गतिविधि, शैक्षिक कार्यक्रम, परीक्षाको स्तरीयता, ल्याब, लाइब्रेरीको अवस्थासमेतलाई मूल्यांकन गर्ने गरी मापदण्ड प्रस्ताव गरेको छ । ‘न्यूनतम मापदण्ड पनि पूरा नभए कलेज बन्द गराउनुको विकल्प हुँदैन,’ उनले भने, ‘मन्त्रालयले तय गरेको नयाँ मापदण्ड पूरा गर्न चाहने कलेजलाई बन्द गराउनुअघि निश्चित समयसीमा दिन सकिन्छ ।’

उपत्यका

गुन्डा नाइकेसहित २३ डिपो सञ्चालक पक्राउ

- कान्तिपुर संवाददाता

(काठमाडौं) - निर्माण सामग्री खरिदका क्रममा उपभोक्ता ठगेको आरोपमा ‘गुन्डा नाइके’ सहित २३ जना गिट्टी/बालुवा तथा इँटा डिपो सञ्चालक पक्राउ परेका छन् ।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार स्वयम्भू, बालाजु र महाराजगन्ज क्षेत्रबाट आपराधिक गतिविधिमा पटक–पटक सजाय भुक्तान गरी छुटेका ‘बाघे’ भनिने सुकबहादुर लामासहित २३ डिपो सञ्चालकलाई पक्राउ गरेको हो । टोलीले डिपो सञ्चालक पक्राउसँगै निर्माण सामग्री बोक्ने ३५ सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ ।
महाशाखाका अनुसार पक्राउ परेका डिपो सञ्चालकमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र इन्टरप्राइजेजका वीरेन्द्र कुइँकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, गरिमा सप्लायर्सका दीपेन्द्र केसी, कामना इन्टरप्राइजेजका बद्री गिरी र जेबीएस सप्लायर्सका बाघे भन्ने सुकबहादुर लामा रहेका छन् । त्यस्तै, शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाँडादेवी निर्माणका प्रकाश भण्डारी, सेतीदेवी सप्लायर्सका राजु थापा, पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ, धनेश्वर सप्लायर्सका सन्तोष कुँवर, श्रीभूमि सप्लायर्सका श्यामबहादुर मगर, नोनेम सप्लायर्सका पुष्कर थापा, श्रीकाली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठलाई समेत पक्राउ गरिएको छ ।
यसैगरी, आकर्षक सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका विजय भन्ने जोगबहादुर तामाङ, गोरखाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंहबहादुर तामाङ र नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठ रहेका छन् ।
त्यसमध्ये बाघे भनिने सुकबहादुर पछिल्लो १० वर्षको अवधिमा अपहरण तथा शरीरबन्धक, धम्की, जबरजस्ती असुलीलगायत अपराधमा १७ पटक पक्राउ परिसकेको महाशाखाले जनाएको छ । डिपो सञ्चालकसँगै पक्राउ परेका ३५ जना चालकलाई सामान्य सोधपुछपछि छाडिएको छ । पक्राउ परेका डिपो सञ्चालकहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । महाशाखा प्रमुख एसएसपी सहकुल थापाले डिपो सञ्चालकहरूले एउटा गाडीबाट मालसामान ओसारपसार गर्दा २१ हजार ६ सयदेखि २ हजार २ सय रुपैयाँसम्म ठगी गर्ने गरेको बताए । नियन्त्रणमा लिइएका सवारीसाधनको स्वरूप नै बदलेर कम सामान अट्ने गरी पिँधमा अर्को फलामे पाता थपेको अवस्थामा भेटिएका छन् ।
‘सवारीसाधनको स्वरूप नै परिवर्तन गरेर डिपो सञ्चालकले कम सामान अट्ने गरी फलामे पाता राखेर ढलान गरेको भेटियो,’ एसएसपी थापाले भने, ‘सवारीसम्बन्धी प्राविधिको समेत राय लिएर आरोपितमाथि ठगी कसुरमा मुद्दा चलाउने तयारी गरेका छौं ।’ एकपटकमा प्रतिसवारी सय क्युफिट गिट्टी, बालुवा हुनुपर्नेमा डिपोसञ्चालकले ८२ क्युफिट मात्रै लोडअनलोड गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रतिक्युफिट ८५ देखि ९० रुपैयाँसम्म पर्ने निर्माण व्यवसायीको भनाइ छ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले डिपो सञ्चालकबाट भएको ठगीमा आम उपभोक्ता पीडित बन्ने गरेको बताए । ‘यस्तो ठगीमा ठूला निर्माण कम्पनीभन्दा घरका तला थप्ने तथा सानो लगानीका निर्माणका उपभोक्ता ठगिने गरेका छन्,’ उनले भने, ‘स्थानीय डिपो सञ्चालक र टोले गुन्डाका कारण ठगिएको थाहा पाउँदा पाउँदै यसअघि सर्वसाधारणले उजुरी गर्ने हिम्मत गरेका थिएनन् ।’ देशभर यस्तो किसिमको ठगी व्याप्त रहेको भन्दै सिंहले त्यसमाथि प्रशासनले नियन्त्रण गर्नुपर्ने बताए । एसएसपी थापाले काठमाडौंसहित मुलुकभर यस्तो किसिमको ठगी नियन्त्रणका लागि गृह मन्त्रालयलाई जानकारी गराएर प्रहरी परिचालन गर्न आग्रह गरिने बताए ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले संगठित अपराधमा संलग्न र टोले गुन्डाहरूले उनीहरूबाट सञ्चालित डिपोबाटै निर्माण सामग्री किन्न धम्की दिने गरेको पनि बताए । ‘गुन्डाहरूले सञ्चालन गरेका डिपोबाटै गिट्टी, बालुवालगायतका निर्माण सामग्री किन्न धम्की आउने र त्यसलाई इन्कार गर्दा अर्कै परिणाम हुने बताएपछि कतिय सर्वसाधारण र निर्माण व्यवसायी बाध्य भएर उनीहरूबाटै किन्न जानुपर्ने अवस्था छ,’ उनले भने, ‘यसप्रति प्रशासनको ध्यान जान जरुरी छ ।’


यौनशोषण गराउने थुनामा
कोठा भाडामा लिएर यौनशोषण गराउने तीन जनालाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । मध्यपुर थिमि बोडे सिन्टीटारस्थित कोठा भाडामा लिएर महिला तथा किशोरीहरूलाई प्रलोभनमा पारी यौनशोषण गराउने व्यक्तिहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । थुनामा परेकाहरूमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–६ मेलचोक घर भई बोडे बस्ने २५ वर्षीय सञ्जय भन्ने राजेश गिरी, मध्यपुर थिमि चपाचोका ५० वर्षीय श्रीकण्ठ भन्ने श्रीकान्त प्रजापती र धादिङ फुलखर्क–४ घरभई मध्यपुर थिमि बोडे बस्ने २९ वर्षीया सोनिया भन्ने सबिना तामाङ (गुरुङ) छन् ।
महिनौंदेखि उनीहरूले भाडामा लिएको घरमा महिला तथा किशोरीलाई प्रलोभनमा पारेर यौनशोषण गर्न विभिन्न व्यक्तिलाई बोलाई मादक पदार्थ सेवन गराई आर्थिक लाभ लिने, वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले भदौ २३ मा पक्राउ गरी अदालतमा पेस गरेको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले बताए ।

Page 6
विविधा

जापानमा जे देखेँ

प्रभा बराल
- प्रभा बराल

दुई वर्ष जापानमा रहँदा जापनिज नागरिकको दैनिकी बुझ्ने अवसर प्राप्त भयो । धेरै जापनिज साथी बने । मनमा लागेका जिज्ञासा तिनैलाई सोधेर मनको खसखस मेटाउन पाएँ । अंग्रेजी भाषाभन्दा जापनिजको जीवनशैली बुझ्न जापानी भाषा नै सिक्नुपर्‍यो ।
विकासको मूलधारलाई पछ्याउन वामे सर्दै गरेको मेरो देश र विकास गर्न अब के बाँकी छ र भन्ने अवस्थामा पुगेको सम्पन्न मुलुक जापानको अवस्था देखेर म हर्ष अनि विस्मात दुवैले रन्थनिन्थेंँ । तर जापानले यो विकासको चरम उत्कर्ष सजिलै हासिल गरेको होइन भन्ने कुरा जापानीहरूको मुखबाट सुनेपछि हामी नेपालीको अकर्मण्ययता आँखाभरि नाच्न थाल्थ्यो ।
‘जापानीहरूको अथक मिहिनेत, नेतृत्व वर्गको इमानदारीपूर्ण सुशासनले नै आज हामी यो स्थानमा आएका हौं, उनले भनिन् । उनले थप भनिन्, ‘हामीलाई हाम्रो सरकारप्रति पूर्ण भरोसा छ । त्यही भरोसाले नै हरेक काम गर्ने ऊर्जा दिँदो रहेछ । हाम्रो सफलताको कारण यत्ति हो । हामी हाम्रो दैनिकीमा कर्तव्यपरायण छौं, सरकार आफ्नो नागरिकको सुखशान्तिको लागि कर्तव्यपरायण छ । युद्धपछिको जर्जर अवस्थाबाट ७०/८० वर्षमै जापानले गरेको चमत्कार हामी तेस्रो विश्वका मानिसलाई प्रेरणादायी छ । मिहिनेतका कारण आज अनेकौं आश्चर्यजनक क्रियाकलाप गरेर विश्वको ध्यान आफूतिर खिच्न जापान सफल बनेको छ । अटोमोबाइल निर्माणमा जापान अग्रणी स्थान छ ।
जापानमा देखेका केही रोचक कुरा पाठकहरू समक्ष बाँड्न चाहन्छु । हामी काम गरिरहेको ठाउँमा सुत्दा अल्छी र निस्क्रिय छविका कारण आत्तिन्छौं, तर जापानमा त्यसरी काम गर्ने ठाउँमा सुतेको छ भने बरा ! उसलाई कति कामको लोड रहेछ भनेर सहानुभूति दिने गरिँदो रहेछ । जापानमा हरेक साल १५ सय भूकम्प आउँछ, तर भूकम्पले घर भत्कँदैनन् । सबै घर भूकम्प प्रतिरोधी छन् । भूकम्प लगायत जापानमा बाढी, पहिरो, सुनामी, ज्वालामुखी र टाइफुनजस्ता दैवीप्रकोप हरेक साल आउँछन् । यस्ता प्रकोपले भौतिक लगायत अन्य क्षति धेरै पुर्‍याइरहे पनि विपद्सँग सामना गरेर आफूलाई सामान्य बनाउने प्रयास गर्छन्, धेरै हल्लाखल्ला गर्दैनन् । अहोरात्र काममा खटेर जापानीहरू छिट्टै पहिलेकै अवस्थामा पुर्‍याउँछन् । यस्ता बेला प्रधानमन्त्रीले नै पीडित समुदायको आँसु पुछेर मानवताको नमुना देखाउँछन् ।
जापानी स्कुलमा आया र पियन हुँदैनन् । शौचालयदेखि कक्षाकोठा लगायतका सरसफाइ विद्यार्थीे र शिक्षक मिलेर गर्छन् । विद्यार्थी र शिक्षकको एउटै शौचालय हुन्छ । विद्यालयमा लगाउने छुट्टै हरियो रङको हाफ क्लोज जुत्ता हुन्छ, विद्यार्थीले घरबाट लगाएर आएको जुत्ता र्‍याकमा थन्काउनुपर्छ । सबैभन्दा लामो आयु ८२ वर्ष बाँच्छन्, जापानीहरू । यो विश्वकै बढी आयु हो । साढे २ लाखभन्दा बढी भेन्डिङ मेसिन छन्, जहाँबाट इच्छाएको बेला चिया, कफी, पानी, जुस निकालेर खान सकिन्छ । छोटो–छोटो दूरीमा सफा शौचालयहरू छन् । जापानमा सय वर्षभन्दा माथिका मानिस नै पचास हजारभन्दा बढी छन् ।
टापु नै टापुले भरिएको जापानमा ६ हजार ८ सय टापु छन् । समुद्र र टापु जोड्ने सुन्दर बाटो र डिजाइन–डिजाइनका पुलहरू छन् । जापानीहरू घोडा तथा माछाको मासु काँचै पनि खान्छन्, जुन हामीलाई आश्चर्य लाग्छ । सबैभन्दा बढी मानिस बसोबास गर्ने ठाउँ जापानको राजधानी टोकियो हो, यहाँ तीन करोड जापनिज बसोबास गर्छन् । यो विश्वमै धेरै मानिस बसोबास गर्ने महँंगो सहर पनि हो । हामी मिलेको दाँतको प्रशंसा गर्छौं, तर जापानमा नमिलेको दाँतलाई विशेष मान्ने चलन छ र त्यस्तो दाँतलाई सबैले मनपराउँछन् । कतिपयले कस्मेटिक सर्जरी गरी दाँत बिगार्छन् । जापानमा रेष्टुरेन्ट वा होटल लगायत अन्य ठाउँमा कर्मचारीलाई ‘टिप्स’ दिनु अभद्र मानिन्छ, जुन करा सुन्दा हामीलाई अजीव लाग्छ । सुमो रेस्लिङ यहाँको राष्ट्रिय खेल भए पनि बेसबल लोकप्रिय बन्दै गएको छ । क्रिसमसको बेला केएफसी तथा होटल, रेष्टुरेन्ट गएर खाना खानु परम्परा नै मानिन्छ । सबैतिर सिसी क्यामेरा जडान गरिएको छ ।
हामी बिरालोलाई अपसगुनका रूपमा लिन्छौं, तर जापानमा बिरालोलाई सगुनका रूपमा लिइन्छ । कालो बिरालो त झन् प्रिय मानिन्छ । हरेक बिहान ५ बजेबाट नै घर–घरबाट कुचो बोकेर मानिस आफ्नो घरभन्दा पनि सार्वजनिक ठाउँ, चोक र बाटाघाटाहरू सफा गरिरहेका हुन्छन् । विवाह, वनभोज वा अन्य अभिप्रायले घुम्न गएका बखत खानेकुरालाई भन्दा फोहोर व्यवस्थापन सही ढंगले गर्न उत्तिकै दत्तचित्त भइरहेको देखिन्छ । आफूले पालेको कुकुरलाई समेत प्याड लगाइदिएर सार्वजनिक ठाउँ वा पार्कमा लगेको दृश्य हाम्रालागि आश्चर्यको विषय बन्न पुग्छ । तर यो जापनिजहरूका लागि सरसफाइप्रतिको सचेतताको उच्चतम नमुना हो ।
जापानीहरूले जस्तै हामीले पनि समयको पालना, लगनशीलता र इमानदारितालाई ख्याल गर्‍यौं भने छोटो समयमा नै देशलाई कायापलट गर्न सक्छौं । कसैले कसैका कुरा काटेर समय बरबाद गर्ने समय जापानमा छैन । एक लाख हाराहारी नेपाली बसोबास गर्ने जापानमा पछिल्ला दिनमा उनीहरू शंकाको घेरामा पर्नथालेका छन् । जापानको नियम र अनुशासनमा नबस्नाले नेपालीहरूप्रति विश्वास कम हुँदै जानथालेको छ, जुन गम्भीर चिन्ताको विषय हो ।

विविधा

को किताब पढ्छन् ?

समय रेखा
- अभि सुवेदी

 

नेपालमा खासगरी काडमाडौं राजधानीमा किताबका पसलहरू धेरै छन् । ती पसलमा सबैभन्दा धेरै किताब अंग्रेजी भाषामा हुन्छन् भन्ने साधारण अनुभवले देखाउँछ । पसलहरूमा रंगीचंगी परिधान लाएका अंग्रेजी र नेपाली भाषाका किताबहरू दराज, भुइँ र टेबल ढाकेर अनि छरिएर बसेका दृश्य हामीजस्ता किताब जीवन हो, जीवन किताब हो भनी मान्ने मनुवाहरूको निम्ति नयनाभिराम हुन् । तर किताब थाहा पाउने भए पनि किन्ने पैसा त्यति जुटाउन नसक्ने वर्गमा परेका मानिसलाई तिनमा आकर्षण बढेपछि अथवा तिनको आवश्यकता कि त विषयले कि तिनलाई देखेर बुझेपछि नकिनी नहुने अवस्था परेपछि समस्या पर्छ । हामी जस्ता तलब वा पिल्सिङमा भर पर्नेहरूको निम्ति यो एउटा अस्तिवादी चुनौती हो, जुन एउटा सुन्दर जीवनकै पर्याय हो । प्रेमीहरूका अभाव, ‘प्यासन’ र आवश्यकताको त्रिवेणीबाट अस्तित्वमा आउँछ, किताब । त्यतिबेला मात्रै किताब सार्थक भएको मान्नुपर्छ, जब यो त्रिवेणी हुँदै किताब पाठकको हातमा आइपुग्छ ।
पुस्तकालयहरू सहज नभएका हुनाले किताब पसलबाटै पाठकका चरित्र र तिनका किसिम हेर्नुपर्ने हुन्छ । मैले निकै सयमदेखि केही प्रमुख किताब पसलहरूमा आउने किताबहरू र तिनलाई किनेर पढ्ने मनुवाहरूको विषयमा जानकारी राख्ने कोसिुस गर्दै आएको छु । यो लेख ‘सर्भे रिपोर्ट’ होइन, त्यो अर्कै आलेखको विषय हो । तर यस लेखमा मैले केही महत्त्वपूर्ण कुराका संकेत भने गर्नसकेको छु, जुन मैले किताब पसलेहरू र केही आफ्ना नजिकका किताबप्रेमीहरूका भनाइबाट पाएको हुँ । मलाई आफैं सबै कुराका उत्तर प्रस्ट छैनन् । कुरा किताबहरूबाटै लिनुपर्छ । किताब ऐना, रहस्य र अग्रचेतनाको प्रतीक सबै हो । मैले पाएका उत्तर र मैले थाहा पाएका कुराको आधारमा भन्दा अंग्रेजी भाषाका किताबका पाठक मूलतः नेपालीहरू नै हुन् । तर केही विदेशीहरू पनि त्यसमा पर्छन् । तर ती को हुन् भन्ने कुरा किताब पसलका मानिसहरू पनि प्रस्टसँग भन्न सक्तैनन् । मैले आफ्नो उत्सुकता मेटाउन किताब किन्नेहरूका वर्गीकरण गरेर जानकारी लिने कोसिस गरेंँ ।
वर्गीकरणमा मैले विश्वविद्यालय शिक्षासँग जोडिएका मानिसहरू लिएँ । त्यसमा शिक्षक र विद्यार्थी दुबै पर्छन् । अर्कोमा विदेशी लिएँ, जो अहिले अमेरिकातिर छापिएर भारतको वितरण प्रणाली अन्तर्गत निकै छुटमा आइपुगेका किताब किन्न पसलमा आउँछन् भन्ने मैले अनुमान गरेको थिएँ, तर त्यत्ति धेरै मिलेन । त्यसो त तिनै किताब किन्न नेपाली प्राज्ञिक कर्म गर्ने मानिस पनि पुगेका हुन्छन् । अनि तेस्रोमा मैले राजनीति गर्ने मानिसहरूलाई लिएँ । त्यसमा राजनेता, विभिन्न दलका सक्रिय अनि बौद्धिक चाख भएका मानिस पर्छन् । नेपाली राजनीतिमा चिनिएका र एक–दुईपटक शक्तिमा आसिन भइसकेकाहरू दोहोर्‍याएर आइबस्छन् । त्यसमा चारदेखि पाँचजनासम्म राजनेता आउँछन् । नयाँ मानिसहरू त्यति आउँदैनन् । मैले आफ्ना अनुभव र किताब बिक्रेताहरूसँग पाएका जानकारी अनुसार यो लेखेको हुँ ।
नेपालका किताब पसलहरूमा आउने अंग्रेजी किताबहरूको निकै लामो इतिहास छ । मैले बीसौं शताब्दीको सन् साठीका अन्तिम वर्षदेखि यो विषयमा चाख राखेर आइबसेको हुँ । पहिला पनि यस विषयमा लेखिसकेको हुनाले यहाँ पुनरावृत्ति गर्न चाहन्न । अंग्रेजी भाषामा उपन्यासहरूको एकपटक बाढी लागेको थियो । त्यसपछि हिप्पी आन्दोलनताका विचार र पश्चिमी समाजको बद्लिंँदो समाज र मान्यता विषयका किताबहरू धेरै आए । ती किताबहरूको मोह र प्रभावमा पर्ने पुस्तामा म पनि परेको थिएँ । त्यही बेलादेखि लगभग अंग्रेजी किताब ‘सेकेन्ड
ह्यान्ड’ दाममा नेपालमा आउन थालेका हुन् । नेपाल विस्तारै ‘सेकेन्ड ह्यान्ड’ किताबको एउटा ठूलो केन्द्र बन्यो । मलाई काठमाडौंजस्तो ‘सेकेन्ड ह्यान्ड’मा राम्रा किताब पाउने नगर आफू गएका एसियाका कुनै सहर पनि छैनन् जस्तो लाग्थ्यो । पर्यटनको विकास भएपछि काडमाडौं बाहिर पनि ‘सेकेन्ड ह्यान्ड’ किताब पसल खोल्नु एउटा आवश्यकता वा संरचना नै जस्तो भएको हो । अर्कोथरी किताबहरू नेपाल सम्बन्धी नै आउन थाले । विदेशीले नेपाल विषयमा लेखेका किताब पनि नेपाली पुस्तक बजारमा आइपुगे ।
नेपालमा अंग्रेजी भाषाका किताब पसल र नेपाली भाषाका किताब पसलको सम्बन्ध कस्तो रहिआएको छ त ? यो एउटा महत्त्वपूर्ण प्रश्न हो, जसको सम्बन्ध एउटा किताब पसल खोल्नु र बिक्री गर्नुको संस्कृतिसँग जोडिएको छ । अंग्रेजी र नेपालीका किताब पसलहरूको सम्बन्ध सांस्कृतिक पठन–पाठनको विषयमा छ । यो पछिल्लो समयमा देखिएको जस्तो प्रतिद्वन्द्वीको सम्बन्ध होइन । अंग्रेजी किताब र नेपाली किताब बरोबरी राख्ने किताब पसलहरू छन् । प्राध्यापक त्रिरत्न मानन्धरको एकेडेमीको जर्नल अफ नेपलिज स्टडिज (२०१९ अंक १) मा भर्खरै एउटा महत्त्वपूर्ण ऐतिहासिक सर्भे भएको लेख निस्केको छ । त्यस लेखले देखाए अनुसार नेपालमा सम्वत् १९४४ मा खुलेको पहिलो किताब पसलदेखि पछिका वर्षहरूमा विभिन्न राजनीतिक व्यवस्था, विश्वास र चाखहरूलाई समेटेर अघि बढेको इतिहास हो, यसको । त्यसैले आज किताब पसलवालाहरूका माग र चाखहरूमा अंग्रेजी र नेपाली भाषाको विभाजन रेखा छैन ।
त्यसो भए नेपालमा किताब पसलको महत्त्व के हो त ? नेपालमा पुस्तकालयको कथा आफ्नै किसिमको छ । विशाल पुस्तकालयहरू अहिले सरकारको निम्ति अदृश्य भएकाले ती कहीं स्कुलहरूका गारतमा थन्किएका समाचार पढेकै हौं । तिनको पनि आफ्नो महत्त्व छ । तर युर्गेन हेबरमासको मलाई अत्यन्त मनपरेको रूपक कफी हाउसको भेटघाट, त्यसबाट ससानै भए पनि प्रकाशनहरू हातहातमै बाँडेर वृत्त वा ‘स्फेयर’ फैलिएको कथानक नेपालमा पुस्तकालय होइन, सरकारी प्रकाशनहरू होइन, किताब पसलहरूको कथाबाट मात्र बुझ्न सकिन्छ । नेपालमा पठन–पाठनको आमवृत्त फराकिलो गर्ने कर्म किताब पसलहरूले गरेका छन् । म धेरै जाने एउटा किताब पसलको उदाहरण लिएर हेर्छु । त्यहाँ यो समाजका धेरै किसिमका मानिस आउँछन् । सबैका निम्ति खुलेका, ‘क्याटलग’ र नियमको बन्धन नभएका, विविध र सबैको निम्ति सन्देश बोकेका, किताबहरूलाई हेर्छु, जसमाथि राजनेता बाबुराम भट्टराई र कमल थापादेखि प्राध्यापक लोकराज बराल, विद्वान हरि शर्मा, हरि रोका अनि मेरा थेसिस लेख्न सन्दर्भ खोज्दै हिंँडेका विद्यार्थीहरूसम्मका हात यसै सल्बलाउँछन् । त्यो वैविध्य हो, जुन किताब किन्नेको निम्ति आनन्द र चुनौती हो, अनि हेबर्मासले कफीगृहमा देखेको ज्ञान र साझा संस्कृतिको सुन्दर आमवृत्तको स्वतः फराकिलो हुँदै गएको रचना हो । एउटा उदाहरण दिएको हुँ । अरु पनि हेरेको छु, त्यही चरित्र भेटिन्छ । नेपालमा ज्ञानका स्रोत केन्द्रहरू समाजमा गतिशील भएर जाने आधारहरू लगभग शून्य छन् । किताब पसलहरू जो देशभरि हुन्छन्, तिनले त्यो कर्म गरेका छन् । पटक–पटक तिनै किताब पसलहरूलाई निरीह ठान्ने, सोझा व्यापारी, किताब बेचीखाने मनुवा भनेर उपेक्षा गर्ने अनि तिनको कर्म र जीवन असजिलो बनाइदिने सरकारका सम्बन्धित संयन्त्रहरूमा यो चेतना त्यति देखिएन ।
को किताब पढ्छन् ? यो प्रश्नको उत्तर पाउनु प्रायः असम्भव हुन्छ । समाजवाद, आर्थिक पद्धति र कल्याणकारी सिद्धान्तका गतिला छलफल सुनिँदैनन् । मार्क्सवादको व्याख्या गरेका एकाध शीर्ष संकथनबाट बुझ्दा लाग्छ, किताब पढ्ने मोह हराउँदै गएको छ । लेखनका सिद्धान्त, अनि तीसँग जोडिएका पूर्वीय र पाश्चात्यतिरका धेरै नभनौं आधारभूत दर्शनहरूका प्रयोग भएका लेखन र छलफलका अवस्थालाई हेर्दा किताब कति पढिँंदैछन् भन्ने अनुमान गर्न सकिन्छ ।
किताब पसलहरूका कुरा गर्दा एउटा नयाँ र झकझक्याउने (मलाई निकै वाचाल लाग्छ) विषय निस्केको छ । त्यसको पछिल्लो समयमा अमेरिकामा प्रयोग भयो र भइरहेको छ । त्यो शक्तिसाली देशमा पछिल्ला वर्षहरूमा छलफलका आँधी उठे र उठ्दैछन् । पहिलो हो, ‘फेक’ वा अतिरिक्त सत्य/‘अल्टर्नेटिभ ट्रुथ’ । जर्ज अर्वेलले १९८४ शीर्षकको उपन्यास १९४९ मा लेखे । त्यसको छलफल अमेरिका र सोभियत संघको वैचारिक युद्धसँग पनि जोडिएर आएको थियो । अधिनायकवादको उदय अनि तिनले समाज नियन्त्रण गर्न निकालेका ‘न्युज पिक’ नामकरण गरिएको सरकारको बनावटी भाषासहित झुटका सञ्जालको विषयमा त्यो उपन्यास लेखिएको थियो । तर यतिका धेरै वर्षपछि अमेरिकामा त्यो विषयको छलफलमात्र भएन, प्रयोग पनि भयो । राष्ट्रपति र उनका मानिसहरूबीच द्वन्द्व हुनु अनि तिनीहरूले नै अनेकौं संस्मरण लेख्नु र तिनलाई पर्खेर बसेका प्रकाशकले तिनलाई प्रकाशित गरिहाल्नुले एउटा किताब पढ्ने संस्कृतिमा नयाँ प्रयोग ल्यायो । क्षेत्रीयदेखि वैश्विक राजनीतिसम्मलाई समेटेर लेखिएका ती किताबमा इतिहासको कालिक चरित्रको विनिर्माण भएको छ । फ्रान्सेली दार्शनिक र लेखक झँ पोल सार्त्रले भने ‘किताब भनेका केरा हुन् । ती प्रयोग भइहाल्नुपर्छ, नभए तिनको प्रयोजन सिध्दिन्छ’ । सार्त्रसँग पुरै सहमत हुन नसके पनि केही वर्षदेखि अमेरिकी किताबहरूका प्रकाशन हेर्दा र सरसर्ती पढ्दा लाग्छ, कुरा सत्य हो । यसरी आइपुगेका किताबहरू देखिने ठाउँ किताब पसल हुन् काठमाडौंका, जुन हामीले वैश्विक कालिक तरङ्ग र यथार्थ बुझ्ने थलो भएका छन् । यो सानो उपलब्धि होइन ।

विविधा

सबैको पहुँचमा छैन कन्डम

- डा. प्रकाश बुढाथोकी

 

आधुनिकतासँगै अब कन्डम ढाकछोप, लज्जा र कौतुहलको विषय नभई किराना पसल, पान पसल, डिपार्टमेन्ट स्टोर जताततै पाइन्छ । संसारमा दैनिक १५ करोडपटक हुने यौन सम्पर्कमा २ करोड पटकभन्दा बढी कन्डमको प्रयोग हुने गरेको पाइन्छ । जति कन्डम लोकप्रिय भएको छ, त्यति चर्चायोग्य पनि छै, तर प्रयोगकर्ता घटेको समाचारले सबैलाई चिन्तित बनाएको छ ।
नेपालमा एक वर्षमा ५ करोडभन्दा बढी (आधा सरकारबाट निःशुल्क तथा अन्य किनेर) संख्यामा खपत हुने गरेको युनाइटेड नेसन पपुलेसन फन्डले प्रमुख ६ सहरमा गरेको सर्वेक्षणले देखाएको छ । ६३ प्रकारका कन्डम उपलब्ध भए पनि २१ प्रकारका मात्र आधिकारिक बिक्रेतामार्फत नेपाल भित्रिएका छन् । अवैधानिक तवरले भित्रिने कन्डममा न बनेको मिति छ, न समाप्ति मिति । २५० मिलिग्राम लुब्रिकेन्ट (चिप्लो पदार्थ) पनि छैन । ४३ प्रतिशत कन्डम विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा कमसल छन् ।
स्वास्थ्यसेवा विभागको वार्षिक प्रतिवेदनमा कन्डमको प्रयोग ८ प्रतिशत मात्र छ । नेपालमा कन्डमबिना यौन सम्पर्क गर्दा ७७ प्रतिशत एचआईभी पीडित भएको देखिन्छ । जागरुक गराउन सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय स्तरका धेरै योजना, कार्यक्रम, परियोजना सञ्चालित छन् । तर साधनहरूको प्रयोग गर्ने भने आश्चर्यजनक संख्यामा कम पाइएको छ । बजेट, लगानी, जनचेतना र उपयोगबीच ठूलो र गहिरो खाडल परिवार नियोजनको साधन कन्डममा अत्यधिक सहरी क्षेत्रमा ७० प्रतिशत र ग्रामीण क्षेत्रमा ६५ प्रतिशतभन्दा बढी भेटिन्छ । श्रम, लगानी बालुवामा पानी हालेजस्तो भएको छ ।

फाइदा
यौनरोगबाट सुरक्षित रहन, असुरक्षित यौन सम्पर्कबाट टाढा रहनु पहिलो सर्त हो र सुरक्षित यौन सम्पर्कमा कन्डमको विकल्प छैन । यद्यपि परिवार नियोजनका लागि कन्डमका थुप्रै विकल्प छन् । सजिलैसँग चारैतिर पाउन सकिने, सुरक्षित, सस्तो, प्रयोग गर्न सजिलो, स्वास्थ्यकर्मीको सहयोग नचाहिने, नकारात्मक असर नभएको, हल्का, सानो, प्रयोगपश्चात फ्याँक्न सकिने, प्रत्येकपटक नयाँ–नयाँ प्रयोग हुने र गर्भान्तर, गर्भ रहन नदिने मात्र नभई यौन सम्पर्कबाट सर्ने रोग एस.टी.डी.बाट जोगाउने गर्छ । यौनक्रियामा थप आनन्द प्राप्त गर्न गराउन, शीघ्रस्खलन कम गराउन, यौन अवधि लम्ब्याउन, यौनानन्द प्रदान गर्न वीर्य र योनिरसको एलर्जी रोक्न, गर्भावस्थामा पनि यौन गर्न र भ्रूणको संजीवनी, गर्भनिरोध तथा यौनजन्य संक्रमणबाट रोक्न पनि कन्डम सफल छ ।
यौनसाथीको संसर्गबाट थप आनन्द प्राप्त गर्न, असर शतप्रतिशत बनाउन र फाइदालाई थप विश्वासिलो बनाउन विभिन्न सुगन्ध, आकार–प्रकार, चिप्लोपना, खस्रोपना, काँडा तथा शंखाकारमा विभिन्न ब्रान्डका कन्डम भिओभर, कामसूत्र, इन्सपायरल, मेनफोर्स, म्याक्स, माया, सुपरडटेड अनेकन नाममा बजारमा यत्रतत्र उपलब्ध छन् । सही तरिकाले कन्डम लगाएर सम्भोग गर्दा पुरुषको लिङ्ग र महिलाको योनिबीच प्रत्यक्ष स्पर्श हुन पाउँदैन । जसबाट महिलाको गर्भ रहन, पुरुष तथा महिलामा एकअर्कामा रोग संक्रमण हुन, एलर्जी तथा गर्भवती महिलामा पेटमा रहेको बच्चामा रोग संक्रमण हुनबाट बचाउँछ ।

निःशुल्क छोडी बास्नादार कन्डम
स्वास्थ्यसेवा विभागले नेपाल स्वास्थ्य सर्वेक्षण २०१६ मार्फत गरेको अध्ययनमा कन्डमप्रतिको गलत आमधारणा हट्न नसकेका कारण यसको प्रयोग बढ्न नसकी प्रजनन उमेर ४.२ प्रतिशत मात्र छ । सरकारले निःशुल्क पठाइदिने कन्डम हरेक स्वास्थ्य संस्थाले राख्न छाडेका छन् । म्याद जाने र खपत नै नभएपछि बक्स राख्न र
झुन्ड्याउन छाडेका छन् । बजारमा गोपनीयता, रंगीन, चिप्लो, डटेड र बास्नादार कन्डम पाउनथालेपछि सरकारी कन्डम खपत ह्वात्तै घटेको हो । तथापि सरकारी संस्थामा भने पिल्स, डिपोको माग अत्यधिक छ । कन्डम पहिले–पहिले पुरुषका लागिमात्र भए पनि अहिले महिलाका लागि पनि उपलब्ध छन् । सार्‍है पातलो रबर वा प्लाष्टिकले कन्डम बनाइएको हुन्छ र कसै–कसैमा शुक्राणु नष्ट गर्ने, विषाणु नष्ट गर्ने तत्त्व पनि मिसाइएको हुन्छ ।

चुनौती
सारै पातलो, मसिना छिद्र भएका कन्डम गर्भान्तरको लागि भए पनि भाइरस तथा यौनजन्य रोग संक्रमण रोक्न सक्दैनन् । समय क्रमसँगै स्कुले छात्रछात्राले पनि यौन सम्पर्क राख्ने भएकाले बजारमा उपलव्ध कन्डमको आकार ती १२–१६ वर्षका बच्चालाई नमिल्ने भएकाले वीर्य पोखिएर गर्भ रहने, यौनजन्य रोगको संक्रमण हुने जस्ता असुरक्षित यौन सम्पर्क कायम रहन्छ । कन्डम प्रयोग गर्दा साइडबाट कैंचीले काटी खोल्ने, दाँतले नखोल्ने तरिका, लुब्रिकेन्ट्सको प्रयोग, मिति गुज्रेको, हावा रहन नदिने, कन्डम खोल्नु अघि र प्रयोगपश्चात सरसफाइमा ध्यान, सही उपयोग, पुनः प्रयोग नगर्ने, जोडी दुबैले एकैसाथ प्रयोग नगर्ने र भए/गरेका भ्रम मनबाटै हटाई सुरक्षित यौन सम्बन्धका लागि ध्यान दिनु पर्नेछ । कन्डमले पनि बचाउन नसक्ने यौनरोगमा यौनांग वरिपरिको दाग रोग—हर्पिस, एक सय पचास बढी विषाणुको समूहले छालामा मुसाजस्तो गिर्खा— एचपीभी जसले यौनांग, छाला, मुख घाँटी र मलद्वारको क्यान्सर बनाउन सक्छ । कडा दुखाइ हुने भाइरल छालामा फोका— मोलुस्कुम तथा मुटु र दिमागमा नकारात्मक असर पार्न सक्ने— सिफिलिस पर्छन् । यस्ता रोग पूर्णरुपेण ठिक नभई यौन जोडीसँग यौन सम्पर्क राख्नु हुँदैन ।
पावन पर्व दसैं, तिहारमा देश/विदेशमा रहेका आफन्त घरमा आई जमघट हुने अवसर पारी परिवार नियोजन तथा साधनहरूको प्रोत्साहन गर्ने, यौनरोग तथा एचआईभी, एड्सको सचेतना, जन्मान्तर र कन्डम प्रयोगमा के पुरुष, के महिला सबैलाई चेतना जागृत गर्ने उद्देश्य साथ मनाउनसके मानव स्वास्थ्यमा हित हुनेछ ।
अन्त्यमा, यौनसुख प्राप्त गर्नु मानिसको नैसर्गिक अधिकार हो । तर यसैसँग हुने
जोखिमको बारेमा पनि विचार पुर्‍याउनुपर्छ । जोखिमको कुरा हाम्रो प्रत्येक दैनिक क्रियाकलापमा हुन्छन् । पानी नै पिउनुस्, पखाला लाग्ने
जोखिम, उमालेर पिउनुस्, निकै कम जोखिम । सडकमा हिँड्नुस्, दुर्घटनामा पर्ने जोखिम, सावधानीपूर्वक ट्राफिक नियम पालना गरेर हिँडनुस्, कम जोखिम । शतप्रतिशत खोज्दैनौं । अभ्यस्त भएकाले यसमा जोखिम भएजस्तो
पनि लाग्दैन । यो कुरा यौन सम्पर्कको सन्दर्भमा पनि लागू गरौं ।
स्वास्थ्यसेवा विभागमा कार्यरत डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।
[email protected]

Page 7
विविधा

'मलाई लखेटेर हटाउन सम्भव छैन'

- कान्तिपुर संवाददाता

प्रधानमन्त्री निवास, बालुवाटारभित्र अहिले बगैंचाहरु बनेका छन् । केही हराभरा देखिन्छ । भर्खरै पुरानो निवास भत्काएर नयाा बनाउन शिलान्यास गरिएको छ । भवन निर्माणको ट्याकट्याक–टुकटुकले यहाा अचेल हल्ला बढाएको छ । बिहानैदेखि भेटघाटमा आउनेहरु पनि टुटेका छैनन् । पछिल्लो समय सिंगापुरमा उपचार गराएर फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिंहदरबार आवतजावत अलि पातलिएको छ । धेरैजसो काम बालुवाटारबाटै हुन्छ । बिहीबार बिहान पनि उनले यहीं मन्त्रिपरिषद् बैठक बोलाएका थिए । मन्त्रीहरु हलमा आएर पर्खिरहेका थिए । तर भर्खरै चीनका राष्ट्रपति सी चिनफिङको सफल भ्रमणपछि निकै उत्साही देखिएका प्रधानमन्त्री आफ्नै निवासमा लामो कुराकानी गर्ने मुडमा देखिए । क्याबिनेट बैठकसमेत केही पर धकेल्दै उनले कान्तिपुरसित १ घण्टा ४० मिनेट लामो कुराकानी गरे । प्रस्तुत छ, प्रधानमन्त्री ओलीसाग सुधीर शर्मा र दुर्गा खनालले लिएको उक्त अन्तर्वार्ताको सम्पादित अंश :

नेपालमा लामो समयपछि चीनका राष्ट्रपतिको भ्रमण भएको छ, कत्तिको सफल भएको ठान्नुहुन्छ ?
लामो समयपछि चिनियाँ राष्ट्रप्रमुखको भ्रमण भएकाले मात्र यो महत्त्वपूर्ण होइन । चीन एउटा ‘सुपरपावर’ कै रूपमा प्रकट भइसकेको अवस्थामा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विशेष महत्त्व राख्छ । मैले सधैं भन्ने गरेको छु, मुख्य कुरा मित्रता हो । अहिले हामीले जुन उपलब्धिहरू हासिल गरेका छौं, विश्वासको मित्रता स्थापित गर्न सकेकाले नै हो ।
आन्तरिक रूपमा हाम्रा तीनवटा अपेक्षा थिए– मित्रता, ‘कनेक्टिभिटी’ र विकास । त्यो प्राप्त गरेका छौं । हामीले कनेक्टिभिटी बढाउन र सहज बनाउन खोजेका हौं । त्यो बाटो राम्ररी नै समातेका छौं– रेल–वे होस् वा सुरुङमार्ग । टोखा–छहरे सुरुङ र बेत्रावती–स्याफ्रुबेंसी सुरुङमार्ग, यो पहिला मान्छेहरूले सोचेको विषय होइन । तर अहिले हामी यो बाटोमा प्रस्थान गरेका छौं । किमाथाङ्का सबै मौसममा चल्न सक्छ । त्यो योजनामा परेको छ । कोसी, गण्डकी र कर्णाली करिडोर, सुर्खेत–हिल्सा, कोरला नाका, रसुवागढी सुरुङ– यस्ता धेरै पूर्वाधार निर्माणमा सम्झौता भएको छ ।


कनेक्टिभिटीमा पहिला रेलको चर्चा बढी हुन्थ्यो, यसपालि सडक आएजस्तो देखियो । रेल र सडक परिपूरक हुन् कि छुट्टाछुट्टै विकल्पको रूपमा हेरिएको हो ?
सडकचाहिँ छिटो हुने कुरा हो । सुरुड मार्ग पनि छिट्टै हुन्छ ।


छिटो भनेको कहिलेसम्म ?
(सुरुङमार्ग) ३–४ वर्षमा हुन सक्छ तर रेल–वेचाहिँ त्यति छिटो नहुन सक्छ । राष्ट्रहरूले एकछिन्का लागि मात्र काम गर्दैनन्, भविष्यका लागि गर्छन् । अहिले तत्काल रेल सम्भव भएन भने अलि पछि सम्भव हुन्छ । पहिले तिब्बतमा रेल आउन सम्भव थिएन तर अहिलेको जमानामा सम्भव भयो । त्यसअनुसारको प्रविधि विकास भयो ।
रेलका लागि अहिले समय लाग्न पनि सक्छ । हामी त्यही लामो समय लाग्ने कुरामा मात्र जिद्दी गरेर बस्यौं भने केही पनि हुँदैन । त्यसैले अहिले हुने कुरा गर्दै जानुपर्छ । अलि ढिलो हुने कुरामा प्रयास अघि बढाउँदै लैजानुपर्छ । तर हामीले रेलमा कम जोड दिएको होइन । संयुक्त वक्तव्यमै त्यो उल्लेख छ । मैले सन् २०१६ र २०१८ मा जुन कुरा गरेको थिएँ, अहिलेको सहमतिमा पनि त्यसको निरन्तरता छ ।


केरुङ–काठमाडौं रेल प्राविधिक र भौगर्भिक दृष्टिले अप्ठेरो छ, ऋणपासोमा पर्ने जोखिम पनि छ, त्यसैले नेपाललाई यस्तो रेल आवश्यक छैन भन्ने तर्कबारे के भन्नुहुन्छ ?
मलेसियामा ‘ट्वीन टावर’ बनाइँदै गर्दा त्यहाँ महाथीर (मोहम्मद) लाई विकासशील मुलुकको सारा पैसा चुच्चेघर ठड्याएर समाप्त पारिदियो भन्ने आरोप थियो । अहिले त्यो विकासको एउटा प्रतीक बनेको छ । थाइल्यान्डले टावर बनाउँदा पनि बेकारमा त्यो किन बनाउने भनिएको थियो । अहिले त्यो आम्दानीको ठूलो स्रोत बनेको छ । मलेसियामै ८०/८२ किलोमिटर टाढा एयरपोर्ट बनायो, यति टाढा चल्दैन भनेर मान्छेले आलोचना गरे । अहिले ५५ मिनेटको ‘ड्राइभ’ मा पुगिन्छ । यूएईमा पनि बुर्ज खलिफा किन बनाइयो भन्नेहरू थिए । सन् १९०३ मा राइट दाजुभाइहरूलाई पागल भन्थे, आकाशमा चरा उडेको देखेर हवाई जहाजको कल्पना गर्छन् भन्थे ।
हामीकहाँ कोदारी राजमार्ग किन चाहियो ? यो सम्भव छैन भन्थे । पूर्व–पश्चिम राजमार्ग चाहिँदैन भन्नेहरू पनि थिए । अहिले मध्यपहाडी राजमार्ग, ‘फास्ट ट्र्याक’ किन चाहियो भन्नेहरू छन् । ‘ट्रान्स–हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी’ का बारेमा मान्छेले विस्तारै बुझ्दै जान्छन् । हामीलाई रेल चाहिन्छ कि चाहिन्न भन्ने कुरा मान्छेले पछि थाहा पाउँछन् । हामीले दक्षिणबाट पनि रेल ल्याउने र उत्तरबाट पनि ल्याएर काठमाडौंमा जोड्ने भनेका छौं ।


दुवैतर्फका रेल जोड्ने नै भनेको हो ?
जोडिनु ठीक छ । यता (चीन) बाट पनि काठमाडौंमा आउँछ, उता (भारत) को पनि आउँछ ।

'टु प्लस वान’ को अवधारणा
चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच नेपाललाई 'टु प्लस वान’ को अवधारणाबाट हेर्ने कुरा भएको सुनिन्छ, यसमा तपाईंको धारणा के हो ?
‘टु प्लस वान’ होइन, ‘थ्री’ नै हो । किन टु प्लस वान मान्ने ? सिंगापुर सानो छ तर टु प्लस वान भनेर मान्छ कसैसँग ? मान्दैन नि π उसको अर्थतन्त्र दह्रो छ, कसैले टु प्लस वान भन्यो भने स्विकार्दैन । त्यसैले अब टु प्लस वान होइन, ठ्याक्कै थ्री, त्रिपक्षीयमा जाने हो । त्रिपक्षीय साझेदारीमा विकासका साझा प्रयास सहकार्य हुनुपर्छ ।
मान्छेहरूलाई अनौठो लागेको छ, कसरी भारतसँग यस्तो बराबरीको, सार्वभौम समानताका आधारमा मित्रतापूर्ण सम्बन्ध सम्भव भयो होला ? कतिलाई लागेको होला, चीनजस्तो देशसँग बराबरीको सम्बन्ध कसरी भयो होला ? चिनियाँ राष्ट्रपति सी चिनफिङको तपार्इंहरूकै पत्रिकामा निस्किएको आलेखले हाम्रो कुन तहको, कुन हैसियतको सम्बन्ध छ भन्ने कुरालाई स्पष्ट पार्छ । (त्यसमा) चिनियाँ राष्ट्रपतिले औपचारिक भाषा मात्र बोल्नुभएको छैन, मित्रताको भाषा बोल्नुभएको छ । ‘मेरा मित्रहरूसँगको भेटघाट’ भन्नुभएको छ । भारतीय प्रधामन्त्रीले पनि इन्धन पाइपलाइनको उद्घाटन क्रममा मित्रताको सम्बोधन गर्नुभएको थियो । अब चीन र भारत दुवैसँग हाम्रो सम्बन्ध कूटनीतिक मात्र होइन, त्यसभन्दा माथिको हो ।


हाम्रोमा भारतसँग राम्रो सम्बन्ध भयो भने चीनसँग चिसो हुने, चीनसँग भयो भने भारतसँग चिसिने गरेको इतिहास छ । अहिलेचाहिँ बराबरीको सम्बन्ध राख्यौं भन्न खोज्नुभएको हो ?
हामी एउटाको विरुद्ध अर्काको ‘कार्ड’ खेल्दैनौं । बाहिर एकखालको कुरा गर्ने र भित्र–भित्र अर्को खालको गतिविधि गर्दै हिँड्ने, बाहिर मित्रता भन्ने, भित्र अर्को प्रकारको कैंची चलाउने काम गर्दैनौं । हामी बाहिर जे भन्छौं, भित्र त्यही गर्छौं । हामीले सबैसँग मित्रता, कसैसँग शत्रुता छैन भनेका छौं । हामी चिनियाँ वा भारतीय कार्ड खेल्ने कुरामा विश्वास गर्दैनौं । मित्रहरूका बीचमा कार्ड खेल्ने भनेको धोका दिने, छक्याउने कुरा हो । सम्बन्ध सफा र पारदर्शी हुनुपर्छ ।
अलि अगाडि भारत गइयो, भारतका प्रधानमन्त्री नेपाल आउनुभयो, चीन कहाँ रिसायो ? मोदीजी आउँदा चीन त रिसाएन π चीनसँग २० वटा सम्झौता गर्‍यौं, त्यसको पर्सिपल्ट भारतले महत्त्वपूर्ण सम्झौता गर्‍यो । हामीले चीनसँग सम्झौता गर्दा भारतविरुद्ध गरेका छैनौं, भारतसँग गर्दा चीनविरुद्ध गरेका छैनौं । बरु उहाँहरूबीच सम्बन्ध बढाउन योगदान गर्न चाहन्छौं ।


त्यो कसरी ?
एक खालको असमझदारी भयो भने दुईतिर कुरा गरेर यस्तो असमझदारी नराख्नुहोस् भन्न सकिन्छ । दुइटामा तनाव बढ्यो भने ‘ल मामा बल गर’ भनेजस्तो हामी गर्दैनौं ।


तपाईंले टु प्लस वान, होइन त्रिदेशीय साझेदारी भन्नुभयो । यो कुन–कुन क्षेत्रमा हुन सक्छ ?
जलस्रोत, उड्डयन, दूरसञ्चारलगायत लगानीका अरू क्षेत्र छन् । जनस्तरका शिक्षा, संस्कृतिका थुप्रै कुरा छन्, जसले निकटता बढाउन मद्दत गर्छ ।


रणनीतिक साझेदारी
नेपाल–चीनको संयुक्त वक्तव्यमा दुई मुलुकको सम्बन्ध 'रणनीतिक साझेदारी’ मा उक्लिएको भन्ने छ । यसको अर्थ र औचित्य के हो ?
रणनीतिक साझेदारी भनेको कुनै सैन्य गठबन्धन होइन । कुनै राजनीतिक ‘अलायन्स’ पनि होइन । यो आर्थिक–सामाजिक विकासका लागि हो । रणनीतिक साझेदारीभित्र मित्रता, कनेक्टिभिटी र विकास पर्छ । यसभित्र सांस्कृतिक आदानप्रदान, शिक्षा, स्वास्थ्य, आर्थिक साझेदारी र विकासका विभिन्न क्षेत्र पर्छन् । यो एउटा आयोजनाविशेष मात्र होइन । अहिले हामी स्याफ्रुबेंसी खण्डको सर्भे गर्छौं । यो त्यतिमै टुंगिँदैन । त्यसपछि निर्माण टुंग्याएपछि यसको प्रयोग गर्छौं । प्रविधि जोडिन्छ । मानिसको आवागमन जोडिन्छ । त्यसैले यो दीर्घकालीन र बहुआयामिक छ । यो मित्रताको माथिल्लो उचाइ हो । यही कुरा यही भाषामा हामी भारतसँग पनि गर्छौं ।


भारतसँग पनि यस खालको रणनीतिक साझेदारी हुन्छ ?
हुन्छ । भारतसँग पनि हामी यस्तो साझेदारी गर्छौं ।


तपाईंले चीनका राष्ट्रपति सीलाई पटक–पटक भेट्नुभएको छ । व्यक्तिगत रूपमा कस्तो पाउनुभयो ? उहाँ त्यति मुस्कुराएको पनि देखिँदैनथ्यो, काठमाडौंमा त निकै मुस्काएको पनि देखियो ?
(सी) काठमाडौं भ्रमणबाट काफी प्रशन्न हुनुहुन्थ्यो । एकलौटी योगदान, दुईतर्फी प्रशन्नताजस्तो थियो । किनभने ‘रेसिप्रोकेट’ गर्न हामीसँग केही थिएन । हाम्रो मनमा मित्र र मैत्रीभाव छ है भन्नेबाहेक हामीसँग दिने त केही थिएन । दिने त उहाँहरूले हो । दिँदै प्रशन्न हुनुहुन्थ्यो ।
चीनको व्यवहार कहीं–कतै दबाबजन्य थिएन । हाम्रो समस्या यो हो भनेपछि, ‘समस्या पर्छ भने त्यसलाई छोड्दिऔँ’ भन्ने कुरा उताबाट आयो । दबाब, धम्कीको कुरा छैन । ठूलो देशसँग व्यवहार गर्दा प्रायः ‘अन्डरमाइन’ गर्ने, भेटका दौरान छ्यास्स असमान व्यवहार गर्ने हुन सक्छ । तर चीनसँगको व्यवहारमा यस्तो पाइँदैन । मैले मोदीजीसँगको व्यवहारमा पनि त्यो पाएको छैन । पहिले–पहिले अलि ‘फिल’ हुन्थ्यो भारतसँग कुरा गर्दा । अलि असमानता झल्किने खालको लाग्थ्यो । तर मोदीजीसँग त्यस्तो लाग्दैन । सी चिनफिङसँगको सम्बन्धमा पनि त्यस्तो लाग्दैन ।
सीले राजकीय भोजमा बोल्दा त घुमाउरो ढंगले नेपालमा योजना कार्यान्वयनमा समस्या रहेको कुरा उठाउनुभयो । यसलाई कसरी लिनुभएको छ ?
उहाँले भनेको त्यो कुरा ठीक हो । हाम्रो पुँजीगत खर्च कम हुने गरेकै समयमा आयोजनाले गति नलिएर हो । उहाँले ‘हामी जे थाल्छौं, त्यो पूरा गर्छौं’ भन्नुभएको छ । त्यो आयोजनाका सम्बन्धमा ‘साझा प्रतिबद्धता यस्तो हुनुपर्छ’ भन्ने सन्देश पनि हो । हाम्रो सन्दर्भमा त्यो सुझाव हो । उहाँहरूले गरेका सहयोग पनि हामीले समयमा अघि बढाउँदैनौं । हाम्रो देश विकास गर्नुपर्ने, हामी हतारिनुपर्ने तर हतारिँदैनौं । यो अवस्थाचाहिँ छ ।


ॅइन्डो–प्यासिफिक स्ट्राटेजी’
अमेरिका र चीनबीच विश्वव्यापी प्रतिस्पर्धा छ, त्यसको प्रतिविम्ब नेपालमा पनि देखिन्छ । अमेरिकाले ॅइन्डो–प्यासिफिक स्ट्राटेजी’ को कुरा पनि ल्याएको छ, कसरी सन्तुलन मिलाउनुहुन्छ ?
हाम्रो नसामा नै असंलग्नता, स्वतन्त्रता र तटस्थता छ । हाम्रो भूराजनीति नै यस्तो– दुइटा ठूला मुलुकको नजिक छौं । लामो समय उपयुक्त प्रयोग गर्न नसक्दा वा नजान्दा हाम्रा सम्बन्धहरूमा कहिले कस्ता, कहिले कस्ता तनावयुक्त अवस्था पनि देखापरे । त्यसकारण हामीले सिकेका छौं, अब असंलग्न र तटस्थ हुन्छौं । अरूको ‘स्ट्राटेजी’ होइन, हाम्रो स्ट्राटेजी हुन्छ । हाम्रो सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय हितमा कति पनि धक्का नपारी हामी सम्बन्ध बढाउन सक्छौं । अमेरिकाको आफ्नो स्ट्राटेजी होला, त्यो स्ट्राटेजीमा हाम्रो लिनु–दिनु छैन । हामी द्विपक्षीय सम्बन्ध गर्छौं । त्यो स्ट्राटेजी के हो, त्यसको विरोधी र समर्थक को हो, त्योसँग हामीलाई मतलब छैन ।


परराष्ट्रमन्त्री अमेरिका जाँदा इन्डो–प्यासिफिक रणनीतिमा नेपाल पनि सहमत भएको भन्ने आशयको वक्तव्य आएको थियो नि ?
त्यो होइन । इन्डो–प्यासिफिक स्ट्राटेजी के हो, उहाँहरूले हामीलाई बताउनुपर्‍यो । हामीलाई बताएअनुसार त, ‘यो हाम्रो आफ्नो नीति हो, इन्डो–प्यासिफिक क्षेत्रमा कस्ता नीति अपनाउने र कसरी जाने भन्ने हो, यसमा कसैप्रति दबाब पनि छैन, तपार्इंहरू (नेपाल) यसको अंग होइन’ भन्नुभएको छ ।
इन्डो–प्यासिफिक रणनीतिमा नेपाल र श्रीलंका नयाँ ‘अन बोर्ड’ गरिएका देशहरू हुन् भन्ने शब्द पनि छ भन्ने मैले सुनें । एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) प्रोजेक्ट साना देशहरूमा छ । नेपाल र श्रीलंकामा पनि छ । त्यसमा कुनै पनि बेठीक सर्त छैन । जुन देशमा लोकतन्त्र, मानवअधिकार छ, विकासमा जुन देश प्रतिबद्ध छ, जुन देश आर्थिक रूपमा उत्तरदायी र सुशासनयुक्त छ, त्यहाँ मात्र दिने भन्ने सर्त हुन् । त्यो ‘क्याटेगोरी’ मा नेपाल परेको छ ।


एमसीसी संसद्बाट अनुमोदन किन हुन नसकेको ?
त्यसमा तत्कालीन सभामुखजी (कृष्णबहादुर महरा) ले अलि बेठीक काम गर्नुभयो । सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोणहरूका आधारमा, छलफलका आधारमा त्यसलाई अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको, सभामुखको पदको हैसियतको अनुशासन पालना नगरेको हो । कसैले उहाँलाई भनिदियो, अलिकति विलम्ब गर्नुपर्छ । त्यसपछि विभिन्न नेताहरूका अभिव्यक्तिलाई लिएर पनि विचार गरौं भन्नेतर्फ उहाँ (महरा) लाग्नुभयो ।


आउँदो संसद् अधिवेशनबाट त्यो पारित हुन्छ ?
आउँदो अधिवेशनबाट पारित हुन्छ । त्यसमा एउटा ठूलो बहसको प्रश्न बनाएको भनेको ‘भारत जोडियो’ भन्ने हो । बुटवल–गोरखपुर ट्रान्समिसन लाइन बनाउँदा, अन्तर्राष्ट्रिय ग्रिडमा जोड्दा भारतको सिमानामा मात्र बिजुली पुर्‍याएर त जाँदैन । उताको ग्रिडसँग जोड्नुपर्‍यो । त्यसो हुँदा भारत मान्छ, मान्दैन भन्ने कुरा पहिले टुंगिनुपर्छ भन्ने थियो । अस्ति भारतसँग सम्झौता भयो ।


सरकारको कार्यशैली
तपाईंले रेल, सडकलगायत विकासका ठुल्ठूला कुरा गर्नुभयो, तर जनताले दैनिक जीवनमा भोग्नुपरेका समस्या सम्बोधन गर्न सकेको देखिँदैन नि ?
यसमा दुइटा पक्ष छन् । अलिकति आलोचना छ । सोचेजस्तो गति लिएन भन्ने छ । त्यो आलोचनामा ध्यान दिनुपर्छ । कामले गति लिनुपर्छ भन्ने कुरा नराम्रो होइन । अर्को कुरा, मैले ‘चुनावदेखि चुनावसम्म’ हेरेको होइन । मैले हेरेको भनेको मुलुकलाई अल्पविकसितबाट विकसित बनाउनेमा हो । चुनावदेखि चुनावसम्म हेरेर काम गर्दा एक खालको तरिका हुन्छ । दूरगामी विकासको लक्ष्य राख्दा बेग्लै हुन्छ । काठमाडौंमा सामाजिक सञ्जाल, मिडिया भएको ठाउँमा अलि झिलीमिली देखायो भने सरकारको वाहवाही हुन्छ । तर त्यसले समृद्धि हासिल गर्न र साँच्चै अर्थतन्त्रलाई बढाउन गाह्रो हुन्छ । त्यसकारण समानुपातिक विकास गर्नुपर्छ । हामीले विकासमा दुर्गम ठाउँ, ओझेलमा परेका क्षेत्र र विषयलाई ध्यान दिनुपर्छ ।
तपाईंलाई मेरो शैलीको एउटा नमुना भन्छु, मेरो ध्यान कहाँ छ भन्ने । अघिल्लोपटक प्रधानमन्त्री हुँदा मैले तुइन विस्थापित गर्छु भनें, काठमाडौंका सडक चिल्ला पार्छु भनिनँ । काठमाडौंका मान्छेलाई गाडी चढ्दा अलिकति हल्लिन नहुने, दुर्गमका मान्छे त तुइन चढेर खसिरहेका, मरिरहेका छन् । पहिले त खस्न–मर्न दिनुभएन नि π बाउ, आमा खसे–मरे, कसले हुर्काउँछ बच्चाबच्ची ? तिनका लागि चाहिँ कोही बोल्दैन । काठमाडौंमा गाडीभित्र जीउ हल्लियो भने सरकारलाई गाली गर्छन् । त्यसकारण मैले पहिले ध्यान दिएको भनेको जहाँ पीडा र आँसु छ, त्यहाँ हो । यहाँ (काठमाडौंमा) चाहिँ विकास नगरौं भन्ने होइन ।


तपाईंले तुइन हटाउँछु भन्नुभयो, तर सबै ठाउँमा त हटेन ? प्रधानमन्त्रीले गरेका घोषणा नै कार्यान्वयन हुन नसक्नुका कारण के होलान् ?
तुइन विस्थापित भएका छन् । कुनै–कुनै ठाउँमा विस्थापित भए पनि तुइन काटिएको छैन । त्यसको फोटो पनि खिचिएको छ, विरोध गर्नका लागि । कतिपय ठाउँमा तुइनबाहेक झोलुङ्गे पुल पनि राख्न नसक्ने र बाटो पनि जान नसक्ने अवस्था छ । त्यसैले १५/१६ वटा तुइन बाँकी छन् ।


सामाजिक सञ्जालहरूमा सरकारको निकै आलोचना हुने गरेको छ, ख्याल गर्नुभएको छ ?
थाहा छ । उहाँहरू (सामाजिक सञ्जाल चलाउने) लाई धन्यवाद भन्न चाहन्छु । म प्रधानमन्त्री भएपछि नेपालले आर्थिक–सामाजिक रूपमा एउटा फड्को मारेको छ । प्लेनको ‘टेक–अफ’ भनिन्छ नि, त्यस्तै यसले (सरकारले) टेक–अफ लिएको छ । देख्दैन कसैले π मुख छाड्ने बेनामे सामाजिक सञ्जालको त हिसाब छैन, असभ्यका लागि त जवाफ पनि छैन । तर जो आफ्नो नाममा लेख्छ, परिचयसाथ लेख्छ, उसलाई नाति–नातिनीहरूले पनि पछि भन्नेछन्, ‘तपाईंको विकेक थिएन ? यस्तो बेलामा भइरहेको कामलाई पनि केही भएको छैन भनेर झूट फैलाउने ?’
देख्छ नि मान्छेले, के–के भएको छ भन्ने । युगान्तकारी काम भएका छन् । ‘ल्यान्डलक्ड’ मुलुक ‘ल्यान्डलिंक्ड’ भएको छ । परनिर्भरताका ठाउँमा आत्मनिर्भरता बढेको छ । एउटा दमित अवस्थाबाट स्वाभिमान, गौरव उठेको राष्ट्रको रूपमा आएको छ । कसैलाई प्रधानमन्त्री मन पर्दैन होला । नपर्न सक्छ । त्यो बेग्लै कुरा हो । तर मन नपरे पनि काम त भएको छ ।


तपार्इं आफ्ना मन्त्रीहरूको काममा कति सन्तुष्ट हुनुहुन्छ ? मन्त्रिपरिषद् फेर्न लाग्नुभएको चर्चा पनि सुनिन्छ ?
कतिपय विषयमा म अलि सन्तुष्ट छैन किनभने म छिटो विकास हुनुपर्छ, छिटो गतिमा हिँड्नुपर्छ भन्ने ठान्छु । हामी पछाडि परेकाले दौडनुपर्छ । दौडनुपर्ने बेलामा त्यसअनुसारको दौड भएन भने मलाई नरमाइलो लाग्छ । यो हिँडाइ भएन भनेर पीर पर्छ । मेरो असन्तुष्टि त्यसमा छ । मैले भ्रष्टाचारमा पाएसम्म केही नछोडी कारबाही गर्न भनेको छु । यस्तो ठुल्ठूलो पदका मान्छे पहिले कारबाहीमा पर्दैनथे । यति धेरै मुद्दा पनि चल्दैनथे । शान्ति सुव्यवस्थाका केही केसमा भने पत्ता लाग्नै दिइएन ।


निर्मला पन्तको केस भन्नु खोज्नुभएको ?
केही छानबिन गर्न खोज्यो भने किन छानबिन गरेको भन्ने π कसैलाई पक्राउ गर्‍यो भने त्यो निर्दोषलाई किन पक्रेको भन्ने π हल्लाखोर जमात उफ्रिन्छ । निर्दोष हो कि होइन भन्ने त प्रहरीले छानबिन गर्छ । तर छानबिनै गर्न नदिने π फलानालाई किन समातेको भन्ने π राजनीतिक पूर्वाग्रहबाट त्यो छानबिनलाई चल्नै दिइएन । हाम्रो पुलिस पनि त्यति दह्रो छैन कि मेरो कुरा यो हो भनेर दृढतापूर्वक अघि बढोस् । मैले ‘निष्पक्ष छानबिन गर, दृढतापूर्वक अघि बढ’ भनें । तर त्यसअनुसार पुलिस अघि बढ्न सकेन । कमजोरी देखियो ।
जनमतलाई ‘डेलिभरी’ दिने कुरामा धेरै कार्यालय अहिले बनिसकेका छैनन् । यो पहिलो नयाँ (संघीय) प्रणाली हो । आम्दानी कम, खर्च धेरै छ । सातवटा प्रदेश सरकार बनाएका छौं । ७५३ वटा सरकार नै बनाएका छौं । गाउँपालिका र संघीय मन्त्रीबीच अनुभवमा केही फरक छैन । यी सबै कुरामा समस्या छ । त्यसैले डेलिभरीमा अलिकति समस्या छ ।


तपाईं स्वयंलाई नै संघीयतामा धेरै विश्वास छैन भनिन्छ नि ?
यसमा बहस गर्नुभन्दा, संघीयताको व्यवस्थापन जुन कुशलताका साथ भएको छ, त्यो नै जवाफ होइन र ?
संक्रमणकालीन न्यायलाई टुंगो लगाउने सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग गठनमा चाहिँ किन ढिलाइ भइरहेको हो ?
सिफारिस समिति बनाएका छौं । समितिलाई सरकारका तर्फबाट कुनै दबाब, सुझाव छैन । उहाँहरूबाट स्वतन्त्र ढंगले गर्ने सिफारिस कार्यान्वयन गरिन्छ । सबै सरोकारवाला अन्तर्राष्ट्रिय समुदायलाई मान्य हुने प्रकारको आयोग बनोस् भन्ने मेरो धारणा हो ।


पार्टी एकीकरण प्रक्रिया
नेकपाको एकीकरण प्रक्रियाले अझै पूर्णता पाएको छैन, यति लामो समय किन लाग्यो ?
यति लामो समय नलिनु पर्थ्यो । के–के गन्थ्रीले काम गरेको छ π जेले काम गरे पनि यति लामो समय लिनु हुँदैनथ्यो । हामी यता गएपछि एकीकरणका प्रक्रियालाई तलसम्म टुंग्याएर काममा लाग्नुपर्ने थियो । त्यो प्रक्रिया र एकीकरण नै सम्पूर्ण नटुंगिँदा काममा जान सक्ने कुरा भएन । जुन भावनाका साथ एकतालाई अगाडि लैजानुपर्थ्यो, त्यो भावनामा समय–समयमा हावा खुस्काइदिने, ‘पन्चर’ गराउने काम भएको पनि देखियो ।


पन्चर गराउने काम पार्टीभित्रैबाट भयो कि कताबाट ?
पार्टीभित्रैबाट । एकता कम ‘सिमेन्टेड’ भएको देखिन्छ । तर त्यसको अर्थ यसको भविष्य अप्ठेरोमा छ भन्ने होइन ।


अर्का अध्यक्ष पुष्पकमल दाहाललाई तपाईंले सिंगापुर जानुअघि पार्टी हेर्ने गरी जिम्मेवारी बाँडफाँट गर्नुभएको थियो, दुई अध्यक्षबीच त्यही ढंगले काम भइरहेको छ ?
त्यो.... अब.... (केही समय रोकिँदै) दुई अध्यक्ष भने पनि एउटा ‘सिनियर’ हुन्छ, अर्को ‘जुनियर’ । तर हामीले एकदम बराबरीको हैसियतमा जस्तो व्यवहार गरेका छौं । संयुक्त अध्यक्षतामा बैठक हुने गरेको छ । प्रचण्डजी नहुँदा मैले कहिल्यै बैठक राखेको छैन । म नहुँदा ‘बस्नुपरे बस्नुहोस्, तपार्इं नै बैठक राख्नुहोस्’ भनेर मैले सिंगापुर जाँदा भनेको हुँ । उहाँ काम गरिरहनुभएको छ, पार्टी अध्यक्षकै हैसियतमा । आज (बिहीबार) चितवन जानुभएको छ, पार्टी अध्यक्षकै हिसाबले । हिजो जलपानमा हुनुहुन्थ्यो पार्टी अध्यक्षकै हैसियतले । साथीहरूसँग पार्टी अध्यक्षकै हैसियतले भेटघाट गरिराख्नुभएको छ । चिनियाँ राष्ट्रपतिसँंग टिमकै नेतृत्व गरेर पार्टी अध्यक्षकै हैसियतले भेट नुभएको थियो । उहाँलाई उपाध्यक्ष त कसैले भनेन । अध्यक्षका हिसाबले गतिविधि गर्न उहाँलाई रोक छैन ।


पार्टीतर्फको काम उहाँले हेर्दा हुन्छ भन्ने हो ?
गजबले हेर्दा हुन्छ । तर कस्तो छ भने, न मैले एक्लै चलाएको छु, न उहाँले एक्लै निर्णय गर्ने हो । पार्टी चलाउने भनेको एकल रूपमा चलाउने त होइन । दुइटा अध्यक्ष छौं नि !
सरकार त एक्लै चलाउनुभएको छ । सरकारको नेतृत्व पनि आधा–आधा गर्ने भन्ने समझदारी थियो हैन ? त्यो कहिलेबाट लागू हुन्छ ?
यदि कुनै समझदारी छ भने त्यो समझदारी आएका बेला (कार्यान्वयन) हुने होला नि ? कुनै, केही हुनुछ भने त त्यतिबेला कुरा (समय आएपछि) हुन्छ । यो सरकार अरू कसैलाई हेरेर, अरू कसैको ‘लिडरसिप’ मा विश्वास गरेर बनेको हो र ? यो परिस्थिति मेरो ‘लिडरसिप’ मा बनेको हो, जसले जे भने पनि । अब मैले छोड्नलाई पनि समझदारी हुनुपर्छ होला । अहिल्यै छोड्ने, भरे नै छोड्नेजस्तो, लखेटेर हटाएजस्तो त होइन होला ? मलाई लखेटेर हटाउन सायद सम्भव पनि छैन होला । समझदारीका साथ हुने अपेक्षा हो भने यो समझदारीका साथ हुने अपेक्षाको यत्रो चर्चा कसरी भयो ?
तपाईंले दुई अध्यक्षबीचको पुरानो समझदारीको कुरा गर्नुभएको कि नयाँ समझदारी गर्ने भन्न खोज्नुभएको ?
जे भए पनि । यदि मैले छोड्ने हो भने समझदारीसाथ छोड्ने होला नि ? अस्थिरता देखिने गरी ‘छोडिदिनुपर्‍यो, ल..ल.. अब छोडिदिइहाल्नुपर्‍यो’, जतिबेर पनि, जोसँग भेट भए पनि, जहाँ पनि, जसले पनि यो कुरा गर्नुको अर्थ समझदारी खल्बल्याउने प्रयास हो । केही समझदारी छ भने र समझदारी हुनेवाला छ भने त्यसलाई खल्बल्याउने प्रयास होइन यो ?
लोकतन्त्रमा स्थिरता, स्थायित्व, आवधिक निर्वाचन हुन्छन् । नेता, पार्टी छानिन्छन् । सरकार परिवर्तन हुन्छन्, त्यसको विधि हुन्छ । त्यो अस्थिरता होइन । तर अस्थिरताको सन्देश दिनुचाहिँ गलत हो । अमेरिकामा चार वर्षमा चुनाव हुन्छ । ‘यो राष्ट्रपति अब एक वर्ष त हो नि’ भन्दै कोही हिँड्छ ? ‘अब समय सिद्धियो’ भनेर त हिँड्दैनन् नि π त्यसैले यो अस्थिरता जनाउने खालको कुरा हो । संवैधानिक, कानुनी हिसाबले जे व्यवस्था छ, त्यसलाई अपमान गर्ने, उल्लंघन गर्ने कुरा, या जनताको अभिमतलाई अवमूल्यन गर्ने कुरा राजनीतिक ‘लिडर’ हरूले बोलेर हिँड्दैनन् ।


तपाईंहरूको पार्टी मात्र होइन, दुई अध्यक्षको सोचाइ–बुझाइमा पनि एकरूपता आउन समय लागेको हो ?
मैले त केही समस्या देखेको छैन । चुनावी तालमेलमा वैचारिक एकता हुँदैन तर हामीले त्यहाँ पार्टी एकताका प्रश्नहरू राखेर गर्‍यौं । त्यहीं हाम्रो कुरा मिलेको छ । यही बिन्दुबाट हामी अघि बढेका हौं । पछि उहाँहरूको माओवादीभित्र के–के समस्या परे होलान् । पटक–पटक नयाँ–नयाँ कुरा खोज्ने स्वाभाव उहाँहरूको देखियो । सम्झौता, सहमति पनि थपिँदै गए । मलाई त एकता चाहिएको हो । त्यसैले मसँग लचकता हुनु धेरै स्वाभाविक हो । माओवादी वैचारिक रूपान्तरणको एउटा तीव्रगतिमा थियो । तीव्र रूपान्तरणको अवस्थामा विचारले आकार लिएको हुँदैन । जनयुद्धबाट आउँदा त परिवर्तनको वेगमा थियो । एमालेचाहिँ जनताको बहुदलीय जनवादको स्थिर विचारधाराको राजनीतिमा थियो । कतिपय मान्छेले माओवादीले मात्र (परिवर्तन) गर्‍यो कि भन्छन् । माओवादीहरूको त्यो गतिविधिले समावेशी, सामाजिक जागरण ल्याउन योगदान गर्‍यो । तर केही कामचाहिँ उपयुक्त भएनन् । न्यायपूर्ण समाजको निर्माण, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कुरामा हाम्रो मतभेद छैन । यसो भएपछि अब वैचारिक मतभेद छ भन्ने रहेन । अलिकति दबाब हुन सक्छ । मानिस हो, अलिअलि ‘इगो’ का प्रश्न हुन सक्छन् ।
तपाईंहरूको एकता दुर्घटनामा त पुग्दैन ?
कुनै हालतमा पुग्दैन । त्यसको त सम्भावना छैन ।

Page 8
विदेश

टर्कीद्वारा सिरियामा युद्धविराम

- एजेन्सी
सिरिया आक्रमणबारे अंकारामा भएको वार्तामा सहभागी टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगान र अमेरिकी उपराष्ट्रपति माइक पेन्सलगायत अधिकारी । तस्बिर ः रोयटर्स

(टेक्सास/बेरुत) - सिरियाको उत्तरी क्षेत्रमा हवाई तथा स्थलगत कारवाही गर्दै आएको छिमेकी देश टर्कीले यद्धविराम घोषणा गरेको छ ।
टर्कीले गत अक्टोबर ९ देखि उत्तरी सिरियाका विभिन्न स्थानमा कुर्दिस लडाकु लक्षित आक्रमण गर्दै आएको थियो । आक्रमणका कारण करिब
५ सय जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मारिनेमा प्रायः कुर्द समुदायका छन् ।
समाचार संस्था एएफपीले एक मानवअधिकारवादी संस्थालाई उद्धृत गर्दै कारबाहीका कारण ३ लाखभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ । इस्लामिक स्टेट्सविरुद्धको लडाइँमा कुर्दहरूसँगै रहेका अमेरिकी सेना फर्काउने राष्ट्रपति ट्रम्पको घोषणालगत्तै टर्कीले त्यस क्षेत्रमा हवाई र स्थलगत आक्रमण सुरु गरेको थियो ।
सैन्य आक्रमणको विरोध गर्दै अमेरिकाले टर्कीका दुइटा मन्त्रालय तथा तीन वरिष्ठ अधिकारीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ । त्यसका साथै अमेरिकाले स्टिलमा लगाउँदै आएको कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्तासमेत स्थगित गरेको जनाएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानलाई टेलिफोन गरी तत्काल युद्धविराम नगरे अझै कडा चेतावनीसमेत दिएका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्धविरामको स्वागत गरेका छन् । आक्रमणमा अमेरिकी नागरिकको एक थोपा पनि रगत नबगेको भन्दै राष्ट्रपति ट्रम्पले ‘सिरियाबारे आफ्नो रणनीति सफल भएको’ दाबी गरेका छन् ।
ट्रम्पले तत्कालका लागि पाँचदिने युद्धविराम भएको जनाए । ‘अमेरिकाका लागि यो महान् दिन हो,’ टेक्सास राज्यमा आयोजित निर्वाचन र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले संवाददाताहरूसँग भने, ‘यो टर्की र कुर्दहरूका लागि अनि मानव सभ्यताका लागि पनि महान् दिन हो ।’
अमेरिकासँगको सहमतिपछि टर्की ५ दिने युद्धविरामका लागि सहमत भएको हो । स्वतन्त्र मुलुकको माग गर्दै वर्षौंदेखि सशस्त्र आन्दोलन गरिरहेका कुर्द लडाकुले सिरिया–टर्की सीमा क्षेत्र छाड्नुपर्ने टर्कीको सर्तमा अमेरिकाले सहमति जनाएको एएफपीले जनाएको छ ।

टर्कीले सीमावर्ती सिरियाली भूभागमा भीषण
सैन्य कारबाही थालेपछि वार्ता गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स बिहीबार टर्की पुगेका थिए । उनले ‘सिरियामाथिको आक्रमण तत्काल रोक्न’ टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानलाई सहमत गराएका हुन् ।
सिरियाली कुर्द लडाकुहरूका विरुद्धमा जारी घातक आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले पनि गम्भीर चासो व्यक्त गरेको छ । राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको क्षतिबारे छलफल भएको थियो ।
बैठकमा सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूबीच आक्रमण रोक्नुपर्ने विषयमा आवश्यक परामर्श र छलफल भएको र त्यस विषयमा सहमति पनि भएको बताइएको थियो ।
सिरियाली आईएसलाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले सघाउँदै आएको थियो । तर एसडीएफलाई टर्कीले आतंककारी समूह बताउँदै गतसातादेखि उनीहरू लक्षित आक्रमण गरेको हो । टर्कीले आफ्नो देशमा रहेका ३० लाखभन्दा बढी सिरियाली शरणार्थी सिरियामा पुनःस्थापित गराउने कारबाही चलाएको बताएको थियो ।

विदेश

अमेरिकी चासो किन ?

- गोविन्द पोखरेल

(काठमाडौं) - पछिल्लो समय अमेरिका र टर्कीबीचको सम्बन्धमा उतरचढाव आइरहेको छ । नेटो सदस्य राष्ट्र टर्कीले गत जुलाईमा अमेरिकाको विरोधका बाबजुद ‘एस–४००’ नामक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली रुससँग खरिद गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको हो ।
टर्कीको एक एयर बेसमा अमेरिकाका ५० वटा आणविक बमहरू रहेको वासिङ्टन पोस्टले जनाएको छ । शीतयुद्ध ताका सन् १९६१ मा टर्कीमा भण्डारण गरिएका आणविक बम लैजाने अमेरिकी प्रयास लामो समयदेखि असफल हुँदै आइरहेको उक्त पत्रिकाले उल्लेख गरेको छ । टर्कीसँग अमेरिका पछिल्लो समय एस–४०० मिसाइल खरिद गरेपछि झनै चिढिएको हो । त्यसको प्रतिक्रियामा सिरियाको उत्तरी क्षेत्रमा तैनाथ अमेरिकी फौज फिर्ता गरेको थियो ।
टर्कीले एस–४०० मिसाइल प्रतिरक्षा प्रणालीको सञ्चालनका लागि करिब २.५ बिलियन डलर खर्च गरेको सीएनएनले उल्लेख गरेको छ । भारतले पनि ५ बिलियन डलरमा उक्त प्रणाली रुसबाट खरिद गर्ने सम्झौता गरिसकेको छ । उक्त प्रणाली खरिद गर्ने पहिलो मुलुक भने चीन हो । टर्कीसँग पाँचौँ पुस्ताको अत्याधुनिक अमेरिकी लडाकु विमान ‘एफ–३५’ पनि छ । तर रुससँग एस–४०० खरिद सम्झौता गरेलगत्तै अमेरिकाले टर्कीलाई एफ–३५ का थप लडाकु विमान बेच्ने सम्झौता रद्द गरिसकेको छ । अमेरिकाले पनि रुससँग एस–४०० मिसाइल प्रणाली खरिद नगर्न चेतावनी भारतलाई दिँदै आएको छ । त्यसको विरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध थप कर लगाउने घोषणा गरे ।


वासिङ्टन किन सशंकित ?
अमेरिकाले एफ–३५ लडाकु विमान र एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली अमिल्दो हुने दाबी गर्दै राख्न नहुने बताउने गर्छ । तर कतिपय विश्लेषकहरूले दुवै हतियार सँगै रहँदा कमजोरी पत्ता लाग्ने त्रासमा अमेरिका रहेको बताउँछन् ।
जमिनबाट आकाशमा मार हान्न सक्ने लामो दूरीको प्रणाली हो एस–४०० । रुसी सेनाको अहिलेसम्मकै राम्रो क्षेप्यास्त्र प्रणाली मानिने एस–४०० मा अत्याधुनिक सर्भिलियन्स राडार जडान गरिएको छ जसले जमनिबाटै विमानलाई ट्र्याक गर्न सक्छ ।
एस–४०० ले जमिनमा ४०० किलोमिटर टाढासम्मको र आकाशमा २७ किलोमिटर माथिसम्म मार हान्न सक्ने क्षमता राख्छ । एस–४०० फाइटर जेट, विभिन्न प्रकारका मिसाइल र ड्रोन ध्वस्त गर्ने उद्देश्यका साथ निर्माण गरिएको हो । बेलायती रक्षाविज्ञ रिचार्ड कोनल्लीले एक सञ्चारमाध्यमलाई भनेका छन्, ‘अहिलेको रुस वा तत्कालीन सोभियत युनियनले मिसाइल टेक्नोलोजीमा सधैं नेतृत्व गरेको छ ।
यसको एक मात्र कारण अमेरिका तथा पश्चिमा देशको रुचि लडाकु विमान निर्माण हो । एस–४०० धेरै नै सहज र विभिन्न प्रकारका रकेटमा पनि प्रयोग गर्न सकिन्छ । यो प्रणाली अमेरिकाको ‘पेट्रोइट–२’ भन्दा दुई गुणा सस्तो रहेको उनले बताएका छन् ।
एस–४०० अमेरिकी लडाकु विमान एफ–३५ लाई २० माइल टाढाबाट मात्रै डिटेक्ट गर्न सक्ने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । एफ–३५ ले हवाईबाट जमिनमा ४० माइल टाढासम्म पनि मार हान्ने सक्ने मिसाइल बोक्ने भएकाले यसले एस–४०० लाई ध्वस्त पार्ने दाबी गरिएको छ ।
अमेरिकी अधिकारीले टर्कीले उक्त प्रणाली र विमान सँगै प्रयोग गर्दा रुसीहरूले एफ–३५ को प्रतिरोध क्षमता पत्ता लगाउने र अमेरिकी विमानलाई राडारमा डिटेक्ट गर्न सक्ने प्रविधिको विकास रुसीहरूले विकासित गर्ने चिन्ता अमेरिकामा छ । एफ ३५ का विभिन्न जानकारी लिएपछि रुसीहरूले विमानको कमजोरी पत्ता लगाउने समेत अमेरिकी विज्ञहरूले बताएका छन् । आकाशमा भएको टार्गेटलाई ध्वस्त पार्ने ‘मोबाइल सर्फस टु एयर मिसाइल’ लाई सन् १९९० मा एमकेबी फेकेल कम्पनीले निर्माण गरेको हो । यसमा ४ प्रकारका मिसाइलहरू प्रयोग हुन्छन् । जसमा ४००, २५०, १२० र ४० किलोमिटर टाढा हान्न सक्ने मिसाइल हुन्छन् । रुसले यसलाई सन् २००७ मा आफ्नो सेनामा आबद्ध गराएको थियो । एस–४०० का मिसाइलहरू १७ हजार किलोमिटर प्रतिघन्टाको गतिमा जान सक्छन् ।
यसलाई सजिलैसँग एक ठाउँबाट अर्को ठाउँमा लग्न सकिने, रेस्पोन्स टाइम १० सेकेन्ड हुँदा खरिदकर्ता मुलुकहरू आकर्षित भएका छन् । ५ देखि १० मिनेटमा हमलाका लागि तयार हुन्छन् । एकैपटक ८० वटा प्रहार गर्ने क्षमता भएकाले यसको चर्चा चुलिएको हो । यसले कुनै लक्ष्यलाई ६ सय किलोमिटर टाढाबाट ट्र्याक गर्ने क्षमता राख्छ ।
एजेन्सीको सहयोगमा

विदेश

अमेरिकाले युरोपेली सामानमा कर बढायो

- एएफपी

वासिङ्टन, – अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेको छ ।
अमेरिकी करवृद्धिको प्रत्यक्ष असर एयरबस, फ्रान्सेली मदिरा (वाइन) र स्कटल्यान्डको हिृवस्कीमा परेको छ । यी सामान अमेरिकामा सर्वाधिक निर्यात हुने वस्तुको सूचीमा छन् । युरोपेली संघका पदाधिकारी र अमेरिकी व्यापार प्रतिनिधिहरूबीच करवृद्धिका विषयमा घनीभूत छलफल भए पनि अन्त्यमा वार्ता विफल भएको थियो ।
चीनसँगको व्यापार वार्तामा खासै प्रगति नभएको अवस्थामा युरोपेली संघसँग पनि व्यापार गतिरोध बढेका कारण यसले विश्व अर्थव्यवस्थामा थप संकट निम्त्याउने विश्लेषकहरूको अनुमान छ ।
अमेरिकाको नयाँ घोषणाअनुसार विमान निर्माता कम्पनी एयरबसका नागरिक उड्डयनका विमान अमेरिका आयात गर्दा १० प्रतिशत करवृद्धि हुनेछ । एयरबसमा बेलायत, फ्रान्स, जर्मनी र स्पेनको लगानी छ ।
करवृद्धिको मारमा फ्रान्सेली वाइनजस्ता उच्च मूल्यका सामान पनि परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघबाट अमेरिका आयात हुने वस्तुमा करवृद्धि गर्ने धम्की दिँदै आएका थिए । फ्रान्स, स्पेन र जर्मनीबाट आयात हुने वाइनमा अब २५ प्रतिशत कर लाग्नेछ ।
अमेरिकी करवृद्धिको घोषणा हुनुअघि वार्ताका लागि अमेरिका पुगेका फ्रान्सेली अर्थमन्त्री ब्रुनो ली मायरले अमेरिकी कदमको प्रतिशोधमा युरोपले पनि अमेरिकी सामानमा करवृद्धि गर्ने सम्भावना रहेको बताए ।
उनले युरोप प्रतिशोध लिने अन्तिम तयारीमा छ भन्दै अमेरिकी निर्णय आर्थिक तथा राजनीतिक दुवै दृष्टिकोणबाट निकै प्रत्युत्पादक हुने चेतावनी दिएका छन् । ली मायरले शुक्रबार नै अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइट्जरसँग भेटेका जनाइएको छ । मन्त्री मायरले विश्व अर्थतन्त्र नै मन्दीतर्फ अग्रसर भइरहेको सन्दर्भमा सबैले मिलेर अर्थतन्त्रक ा समस्या सुल्झाउन पहल गर्नुपर्ने बताए । युरोप र अमेरिकाबीच विमान निर्माता कम्पनीहरू एयरबस र बोइङलाई उपलब्ध हुने अनुदानका विषयलाई लिएर मतान्तर जारी छ ।
युरोपेली संघका पदाधिकारीहरू गत जुलाईमा विमान निर्माता कम्पनीलाई दिइने अनुदानका विषयमा छलफल गरी निष्कर्ष निकाल्न सहमत भएका थिए । उनीहरूबीच विमान कम्पनीहरूलाई सरकारी अनुदान नदिने विषयमा सहमति भए पनि कार्यान्वयनमा आउन सकेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार युरोपेली संघसँग देखिएका द्विपक्षीय व्यापार समस्या सुल्झाउन आफू सदैव तयार रहेको बताएका थिए ।

विदेश

भारतीय बजार खोज्दै हुवावे

- एजेन्सी

नयाँदिल्ली – अमेरिकी दूरसञ्चार कम्पनीहरूलाई ‘५–जी’ उपकरण बेच्न
प्रतिबन्ध लागेपछि चिनियाँ कम्पनी हुवावेले भारतमा आक्रामक बजार विस्तारमा सक्रिय देखिएको छ ।
‘केही देशले हुवावेलाई खेदिसकेका छन्,’ ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ का प्रविधि विश्लेषक अरुण सुकुमार भन्छन्, ‘त्यसैले भारतसँगको सम्भावित सम्झौता ५–जी विस्तारका लागि हुवावेलाई विशेष महत्त्वको हुन सक्छ ।’ हुवावे तत्कालका लागि सहज परिस्थितिमा भए पनि उसले बजारका लागि नयाँ लगानीका क्षेत्र खोज्नुपर्ने सुकुमारको भनाइ छ । उनले भारत हुवावेका लागि ठूलो बजार रहको बताउँछन् ।
पछिल्लो समय अस्ट्रेलियामा पनि प्रतिबन्ध खेपेको हुवावेमाथि अन्य देशले पनि प्रतिबन्ध लगाउनेबारे सोचिरहेको जनाएका छन् । चीनले हुवावेका उपकरणको सहयोगमा जासुसी गर्ने गरेको अमेरिकी आरोप छ । अमेरिकी आरोपको हुवावेले भने खण्डन गर्दै आएको छ ।
मोबाइल फोन प्रयोगकर्ताका हिसाबले भारतीय बजार दोस्रो स्थानमा छ । त्यसैले कुनै पनि कम्पनीका लागि भारत महत्त्वपूर्ण बजार हो । अमेरिकाले भारत तथा आफ्ना साझेदार मुलुकलाई हुवावेका उपकरण जडान नगर्न आग्रह गर्दै आएको छ । हुवावेसँग व्यापार सम्झौता गरे प्रतिबन्धको सामना गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिँदै आएका छन् । अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसले आफ्नो भारत भ्रमणका क्रममा ‘भारत अमेरिकाको भूराजनीतिक साझेदार भएकाले आफूलाई सुरक्षा खतरामा पार्ने जोखिम नमोल्ने लागेको’ बताएका थिए । तर भारतस्थित हुवावे कम्पनीका प्रमुख जे चेनले आफ्ना उत्पादनमा कुनै खतरा नभएको लिखित प्रत्याभूति भारत सरकारलाई दिन हुवावे तयार रहेको बताएका छन् । ‘अमेरिकाले भारत सरकारलाई प्रभावित पार्न खोजेको हामीले सञ्चारमाध्यममा पढेका छौं । तर मलाई लाग्छ हामीले त्यसविरुद्ध कदम चाल्न सक्छौं र हामीले गर्न सक्ने कोसिस गर्छौं,’ उनले भने । बीबीसीका अनुसार अमेरिकाले हुवावेमाथि लगाएका आरोपबारे कुनै टिप्पणी नगरेको भारतले हुवावेलाई आगामी ‘५–जी’ स्पक्ट्रम परीक्षणमा सहभागी हुन निम्तो दिएको छ । यद्यपि, त्यसको मिति भने तय भइसकेको छैन ।
हुवावेलाई ‘५–जी’ नेटवर्क स्थापनाको प्रक्रियामा सहभागी नगराउँदा भारतलाई नकारात्मक असर पर्न सक्ने सुकुमारको भनाइ छ । ‘५–जी आरम्भ गर्न पाँच कम्पनीसँग मात्र पूर्वाधार छ । त्यसमाथि हुवावेको पूर्वाधार नोकिया र एरिक्सनजस्ता पश्चिमा देशका कम्पनीको तुलनामा निकै सस्तो छ,’ सुकुमार भन्छन्, ‘भारतको दूरसञ्चार कम्पनीे संघर्ष गरिरहेको छ । त्यस कारण सस्तो दरमा सेवा प्रदान गर्न पनि हुवावेसँग साझेदारी गर्नु निकै आकर्षक छ ।’
चेनले इकोनमिक टाइम्स पत्रिकालाई बताए छन्, ‘हुवावे हाल भारतको डिजिटल इकोसिस्टमको महत्त्वपूर्ण अंग भइसकेको छ र यो चरणमा बाहिर निकाल्दा त्यो पूर्णतः भत्किने जोखिम उत्तिकै छ ।’ अखबारले उनलाई उद्धृत गर्दै जनाएको छ, ‘त्यसले आर्थिक हानि मात्र होइन, प्रविधि विकासमा पनि नराम्रो असर पार्ने निश्चित छ ।’

Page 9
स्वास्थ्य

विदेशमा दुःख पाएपछि स्वदेशमा उपचार

क्यान्सरपीडित
- कान्तिपुर संवाददाता

(काठमाडौं) - धादिङ, बेनीघाटका ४८ वर्षीय केशव बिसुरालको पाइतालामा ६ वर्षअघि साना बिमिरा निस्किए । विस्तारै फोकामा परिणत भएका ती बिमिरा फुटेर खाटा बस्यो । उनले सामान्य ठानेर उपचार खोजेनन् । घाउका खाटा विस्तारै मासुका डल्ला बनेर दुखाइ असह्य भएपछि मात्र अस्पताल पुगे । चिकित्सकले खिल बसेको भनेर शल्यक्रिया गरिदिए । ‘तर खिल निकालेको खाल्डो मासुले पुरिएन । अझ त्यही खाडल घाउमा बन्यो, फेरि जचाउँदा क्यान्सर भइसकेको रहेछ,’ ३ वर्षअघिको बेथा सुनाए ।
बिसुरालको क्यान्सर पहिलो स्जेटको मात्रै थियो । उनले स्वदेशमै उपचार गर्ने सोच बनाएका थिए तर छिमेकी र आफन्तले अत्याएपछि पत्नी कुमारीलाई साथ
लिएर भारतको राजीव गान्धी क्यान्सर अस्पताल पुगे ।
‘त्यहाँ चिकित्सकसँग बोल्न भाषामा समस्या भयो । खानेबस्ने ठेगान भएन,’ बिसुरालले भने, ‘६ महिना उपचार गराएँ तर बेथा कम भएन ।’ त्यहाँका चिकित्सकले नेपालमा रोग बिगारेकाले निको नभएको जवाफ दिएपछि उनीहरू फर्किए । अहिले हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । नेपालमा १० लाखभित्र हुने उपचारका लागि उनले ६० लाख खर्चिसकेका छन् । ‘घरजग्गा सबै बेचिसकें । अब त बेच्नलाई केही छैन,’ कुमारीले भनिन् ।
४२ वर्षीया अर्की एक क्यान्सरपीडित पनि आफन्तकै लहलहैमा भारत पुगिन् । उनलाई पाठेघरको मुखको पहिलो स्टेजको क्यान्सर थियो । चिकित्सकले उनलाई यहीँ उपचार सजिलो र सस्तो हुने परामर्श पनि दिएका हुन् । ‘जान्नेबुझ्नेले क्यान्सर भयानक रोग हो, पैसा नहुने मान्छे पो नेपालमै अड्किन्छन् भनेपछि ऋण खोजेर भारत हिँडेँ,’ उनले सुनाइनन् । त्यहाँ चिकित्सक भेट्न धेरै दिन कुर्नुपर्ने, खानबस्न धेरै खर्च लाग्ने समस्याबाट उनी गुज्रिइन् । ३० लाख रुपैयाँ सकिँदा पनि रोग निको भएको छैन । अहिले नेपालमै उपचार गराइरहेकी छन् ।
नेपालमै सम्भव हुने उपचारको विश्वास नमानेर विदेश धाउने यस्ता पात्र थुप्रै छन् । विदेश धाएर दुःख पाएका, घरजग्गा सिध्याएका बिरामी क्यान्सर अस्पतालमा धेरै भेटिन्छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोग विशेषज्ञ डा. समीर शर्माको डेढ दशक उपचार अनुभवमा पनि ५ प्रतिशत बिरामी विदेश पुगेरै उपचार गर्छन् । ‘विश्वभर जहाँ पुगे पनि उपचार एउटै हो । नेपालमा पनि उस्तै प्रविधि छ । तर उपचारप्रति बिरामीको विश्वास जाग्न सकेको छैन,’ उनले भने, ‘पैसा हुन्जेल विदेशमा उपचार गर्छन् । पैसा सकिएपछि नेपाल फर्केर निःशुल्क उपचार गर्ने पनि छन् ।’
नेपाल क्यान्सर अस्पतालका निर्देशक तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले क्यान्सर लाग्नेबित्तिकै विदेश नै जानुपर्छ भन्ने मानसिकता कायम रहेको बताए । ‘तीन दशकअघि नेपालमा क्यान्सर रोगको उपचार थिएन । विदेशै धाउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले नेपालमै विशेषज्ञ उत्पादन भइसके, प्रविधि पनि भित्रिसके । उपचारका लागि बिरामीले विदेश नै जानुपर्छ भन्ने छैन ।’ सामाजिक प्रतिष्ठा र आफन्तको करकापका कारण बिरामीले यहाँ उपचार गर्न नमान्ने उनले बताए । उनका अनुसार कतिपय बिरामी रोग लुकाउन पनि बिदेसिन्छन् । क्यान्सरबारे समाजले थाहा पाएर अपहेलना गर्ला भन्ने डरका कारण पनि बिरामी विदेश पुगेर उपचार गर्छन् ।
वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यले पनि क्यान्सर उपचारका लागि देशमै जनशक्ति र प्रविधि भए पनि बिरामीको विश्वास बढ्न नसकेको बताए । ‘अब्बल उपचार नेपालमा सम्भव छैन भन्ने मानसिकताबाट पीडित छन् बिरामी । ठूलो रोग लाग्दा पनि विदेश लगेनन् भन्ने सामाजिक दोषारोपण खेप्न नसकेर पनि विदेश लगिन्छन्,’ उनले भने ।
क्यान्सर लागेका सेलिब्रेटी, सामाजिक र राजनीतिक व्यक्तित्वले विदेशमा उपचार गराउने परिपाटीले पनि सामान्य नागरिकमा त्यस्तो मानसिकता हाबी हुन गएको विशेषज्ञहरूको ठम्याइ छ । डा. श्रेष्ठलाई नेपालमै निको भएका बिरामीले खुला रूपमा भनिदिए पनि धेरैले विदेश पुगेर दुःख पाउनु पर्दैनथ्यो भन्ने लाग्छ । ‘रोगबारे खुलेर बोल्नै मान्दैनन् बिरामी । रोगबारे बोली हिँड्दा जागिर नपाइने, इज्जत जाने, बिहे नहुनेजस्ता डरले ग्रस्त छन्,’ उनले भने । उनीहरूलाई खुलेर यहाँको सेवाबारे प्रचार गर्न सरकारले प्रेरित गर्नुपर्ने उनको विचार छ । डा. श्रेष्ठका अनुसार नेपालबाट भारत गएका बिरामीले उपचारभन्दा बढी दुःख पाउँछन् । बिरामीलाई अनावश्यक औषधि किन्न र परीक्षण गर्न लगाएर बढी खर्च गराइन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनीकुमार झाको अनुभवमा हरेक २० जना क्यान्सरका बिरामीमध्ये एक जना भारत पुगेकै हुन्छन् । ‘नेपालमै उपचार सम्भव छ भन्दाभन्दै पनि अरूको कुरा सुनेर विदेश पुग्ने प्रवृत्ति छ,’ उनले भने, ‘सुरुमा जोसिएर विदेश पुग्छन्, उता दुःख पाएपछि फेरि नेपाल आएर उपचार गर्छन् ।’ नेपालमा क्यान्सरका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन । परिषद्ले गरेको अध्ययन गरेको रिपोर्ट अब छिट्टै सार्वजनिक गरिने अध्यक्ष झाले बताए । उनका अनुसार विदेश उपचार गराउन जानेमध्ये ९९ प्रतिशत भारतको दिल्ली पुग्ने गरेका छन् । केही बिरामी बैंकक र सिंगापुर जान्छन् । विदेशमा बिरामीले नेपालमा भन्दा तेब्बरचौब्बर बढी खर्च गर्ने गरेको उनले बताए । नेपालमा भक्तपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर क्यान्सरको उपचार गरिने मुख्य ठूला अस्पताल हुन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल लगायत गरिब मुलुकमा महिलाको मृत्युको पहिलो कारण पाठेघरको क्यान्सर हो, दोस्रो स्तन क्यान्सर हो । पुरुषमा भने नेपाल फोक्सो, पेट र नाक, कान, घाँटी बढी हुने गरेको छ । संगठनको आँकलनअनुसार नेपालमा हरेक वर्ष क्यान्सरका ३० हजार नयाँ बिरामी थपिन्छन् र यही रोगका कारण बर्सेनि १५ हजारले ज्यान गुमाउँछन् ।

स्वास्थ्य

‘हामीले क्यान्सरलाई जित्यौं’

- कान्तिपुर संवाददाता
स्तन क्यान्सर जितेका सबिता गौतम र चमेली श्रेष्ठ ।तस्बिर ः कान्तिपुर

आफूलाई क्यान्सर लागेको थाहा पाएपछि काभ्रेपलान्चोकको पोखरीचौंरी गाउँपालिकाकी ४० वर्षीया सबिता गौतम कैयौं रात निदाउन सकिनन् । रोगले उनको मनमा उथुलपुथुल मात्रै गराएन परिवारलाई नै चिन्तामा डुबायो । गतवर्षको कात्तिकमा नुहाउँदादेखि उनले बायाँ स्तनमा आधा मुठ्ठीको डल्लो भेटेपछि हो उनलाई क्यान्सरको शंका लागेको थियो । ‘डल्लो दुख्ने खालको थिएन । यस्तो डल्लो क्यान्सरको लक्षण हुन सक्छ भन्ने मैले कतै पढेकी थिएँ,’ उनले भनिन्, ‘चिनेको नर्स बैनीलाई देखाउँदा उनले क्यान्सर हैन भनिन् तर मलाई विश्वास नलागेर वीर अस्पताल गएँ ।’ अस्पतालमा गरेको परीक्षणबाट उनलाई क्यान्सर लागेको प्रमाणित भयो । जुन दोस्रो चरणमा थियो । हाल भने उनी क्यान्सरमुक्त भएर सामान्य दैनिकीमा फर्किसकेकी छन् । सुरुमा त क्यान्सर निको नै नहुने रोग हो भन्ने लागेको उनले बताइन् । ललितपुरको नेपाल क्यान्सर अस्पतालमा उपचारपछि क्यान्सर जितेका बिरामी भेटेपछि मात्रै आस पलाएको उनले बताइन् । उनले भनिन्, ‘ब्रेस्ट क्यान्सर लागेर सन्चो भएका महिलाले मलाई अस्पतालमा आएर सम्झाउँथे । उनीहरूलाई देखेपछि म मात्रै रोगी होइन रहेछुजस्तो लाग्यो । त्यसले आत्मबल पनि बढायो ।’ शल्यक्रिया र औषधि सेवनपछि रोग पूर्ण रूपमा निको भइसकेको उनले बताइन् ।


सबितालाई जस्तै सिन्धुपाल्चोककी ४५ वर्षीया चमेली श्रेष्ठलाई आफू कुनै दिन क्यान्सरको बिरामी थिए भन्ने सपना जस्तै लाग्छ । एक वर्षको उपचारपछि उनी क्यान्सरमुक्त भइसकिन् । ‘छातितिर छाम्दा खालीपन भएपछि मात्र मलाई कुनै दिन क्यान्सर थियो भन्ने लाग्छ,’ श्रेष्ठले भनिन् । गतवर्ष माघमा उनलाई स्तनमा कमिलाले टोकेजस्तो महसुस भयो । छाम्दा भेटिएको गाँठोलाई उनले एक महिनासम्म वास्ता गरिनन्, कसैलाई भन्दा पनि भनिन् । तर एक दिन उनले गाउँकै स्वास्थ्यकर्मीसँग कुरा गर्दा क्यान्सरको लक्षण हुन सक्ने थाहा पाइन् । मेमोग्राम गरी हेर्दा क्यान्सर यकिन भयो । उनले भनिन्, ‘त्यसपछि मेरो जिन्दगी यति नै रहेछ जस्तो लाग्यो । म जतिखेर पनि सोचमग्न हुन थालेँ ।’ परिवारको माया र चिकित्सको नियमित परामर्शले रोगलाई जित्न सघाएको हो जस्तो लाग्छ उनलाई । ८ लाख खर्चेर नेपालमै उपचार गरेको उनले जनाइन् । ‘सुरुमै उपचार गरे क्यान्सर निको हुँदो रहेछ । पहिले मलाई क्यान्सर ज्यानै लिने रोग हो जस्तो लाग्थ्यो, होइन रहेछ ।’
क्यान्सर लाग्यो भन्नेबित्तिकै बिरामीले रोगलाई मृत्युसँग दाँज्छन् । क्यान्सर शब्द सुन्दा जति भयानक लाग्छ, त्यति डराउन नपनर्ने चिकित्सकहरू बताउँछन् । क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्रशेखर अमात्यका अनुसार पहिलो चरणमै अस्पताल पुग्ने हो भने ९० प्रतिशत बिरामीलाई बचाउन सकिन्छ । दोस्रो चरणकै क्यान्सर बिरामी बाँचेका पनि थुप्रै उदाहरण छन् । ‘अधिकांश बिरामी चौथो चरण आउँछन् । यस्ता बिरामीको उपचार गर्न सकिँदैन,’ उनले भने । अमात्यका अनुसार नेपालमा ४० देखि ४५ उमेरका महिलामा बढी स्तन क्यान्सर हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपाललगायत गरिब मुलुकमा महिलाको मृत्युको कारण पाठेघरको क्यान्सरपछि स्तन क्यान्सर हो । संगठनको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष क्यान्सरका ३५ लाख नयाँ बिरामी थन्छिन् । त्यसमध्ये ६ हजार स्तन क्यान्सरका बिरामी हुन्छन् । नेपालमा भने हालसम्म क्यान्सरका बिरामी कति छन् भन्ने आधिकारिक तथ्यांक छैन । ‘क्यान्सर लागेपछि मरिन्छ नै भन्ने डर छ । यस्तो भ्रम हटाउन राज्यस्तरबाटै जनचेतनामूलक कार्यक्रमको आवश्यकता छ,’ उनले भने ।

स्वास्थ्य

चाडबाडका नाममा अनियन्त्रित मद्यपान

- अतुल मिश्र

(काठमाडौं) - मुलुकमा बर्सेनि दसैं–तिहार ताका मदिराको उपयोगसँग सम्बन्धित झैझगडा, हत्या, हिंसा, दुर्घटना, चोटपटक, बलात्कार मात्र बढ्दैन अनियन्त्रित ‘मदिराजन्य पेय पदार्थ’ को उपयोगले ज्यान गुमाउने संख्यासमेत उल्लेख्य रूपमा बढ्छ । अझ तिहारका तीन दिनमा दसैंका दुई सातामा भन्दा पनि बढी मदिराजन्य दुर्घटना र अपराधमा वृद्घि हुन्छ । नेपाल प्रहरीको विगत ३ वर्षको तथ्यांकअनुसार दसैंका दुई सातामा मुलुकमा मदिरा उपयोगसँंग सम्बन्धित झैझगडा, हत्या, हिंसासँगै ‘अनियन्त्रित मदिराको उपयोग’ (विन्ज ड्रिकिङ) ले
ज्यान गुमाउनेको संख्यासमेत अत्यधिक बढ्छ ।
कम समयमै अनियन्त्रित मदिराको उपयोगले तत्काल निर्णय लिने क्षमतामा कमी, भावनात्मक नियन्त्रण गुमाउने तथा दुर्घटना हुने परिस्थिति बन्छ ।
‘दसैं–तिहारको समय उल्लेख्य रूपमा मदिरा सेवनसँगै झैझगडा हुने, आवेगमा आउने, विवाद हुने अनि हत्याहिंसा हुने गरेको देखिन्छ,’ केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव
निरीक्षक विश्वराज पोखरेल भन्छन्, ‘दसैंको १५ दिनको तुलनामा तिहारको ३ दिनमा
जुवा–ताससँगै मदिराको अत्यधिक सेवन हुन्छ ।’
दसैंमा सांस्कृतिक, धार्मिक संक्रियता बढी हुने गरे पनि तिहार अझ दसैंभन्दा बढी मनोरञ्जनात्मक हिसाबले मनाउने गरिएको उल्लेख गर्दै पोखरेल भन्छन्, ‘थोरै दिन भए पनि तिहारमा नागरिक जुवा–तासमा रमाउने, मदिरा सेवनमा बढी समय बिताउने, मदिरा सेवन गरेर बाहिर निस्किने गर्ने हुँदा दुर्घटना र अपराधको सम्भावना अझ बढी हुन्छ ।’
उनका अनुसार दसैंताका हुने अधिकांश अपराधमा कुनै न कुनै रूपले मदिरा सेवन जोडिएको हुन्छ । तिहारमा झन् बढी मदिरा सेवन गर्ने चलनले अपराध र दुर्घटना बढी हुने गरेको उनको भनाइ छ । हामी मात्र नभई हाम्रो छिमेकी मुलुकमा समेत विन्ज ड्रिकिङ समस्याकै रूपमा देखिन थालेको छ । ‘विन्ज ड्रिकिङ ग्लोबल ड्रग सर्भे’ का अनुसार भारत यसको छैटौं नम्बरमा छ । विन्ज ड्रिकिङ गर्नेमा बेलायती पहिलो नम्बरमा छन् भने दोस्रो, तेस्रो र चौथो स्थानमा अमेरिकी, क्यानाडेली र अस्ट्रेलियाली छन् ।
अमेरिकास्थित ‘नेसनल इन्स्टिच्युट अफ अल्कोहल एब्युज एड अल्कोहलिज्म’ का अनुसार मदिरा सेवनले रगतमा अल्कोहलको एकाग्रता ०.०८ ग्राम प्रतिशत वा योभन्दा माथि हुनु विन्ज ड्रिकिङ अर्थात् अनियन्त्रित मदिरापान हो ।
दुई घन्टाभित्र पुरुषले ५ वा बढी डि्रंक र महिलाले ४ वा बढी डि्रंक लिँदा यस्तो समस्या हुन्छ । अनियन्त्रित मदिरापानको परिभाषामा पुरुषको दाँजोमा मदिराको नशा छिट्टै लाग्छ । यसको कारण पेटको ‘इन्जाइम्स’ र ‘हार्मोन’ हो । महिलाले मदिरालाई राम्ररी अवशोषित गर्छन् र उनीहरूको ‘मेटावोलिज्म’ धेरै सुस्त हुन्छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार एउटा पेग १४.६ ग्राम शुद्घ मदिराको हुन्छ ।
यदि मदिरा पाँच प्रतिशत अल्कोहल भएको १२ आउन्स अर्थात् करिब ३५४ मिलिलिटर बियरमा हुन्छ ।
७ प्रतिशत अल्कोहल भएको ८ आउन्स अर्थात् २३६ मिलिलिटर माल्ट लिकरमा हुन्छ भने १२ प्रतिशत अल्कोहल भएको ५ आउन्स अर्थात् १४७ मिलिलिटर वाइनमा रहन्छ ।
४० प्रतिशत अल्कोहल रहेको डेढ आउन्स अर्थात् ४४ मिलिलिटर जिन, रम, भोडका, हिृवस्की आदिको रहन्छ ।
पोखरेलको अनुभवलाई नियाल्ने हो भने दसैं–तिहार, उत्सव समारोह आदिमा अनियन्त्रित मद्यपान गर्ने धेरैजसो व्यक्तिहरू भने मदिरामा निर्भर अर्थात् अम्मली भने हुँदैनन् । हाम्रो मुलुकमा अनियन्त्रत मद्यपानबारे खासै बृहत् अध्ययन भएको छैन । अमेरिका जस्तो मुलुकमा अनियन्त्रित मद्यपान १८ देखि ३४ वर्षका युवाहरूमा सामान्यजस्तै छ । तर अनियन्त्रित मद्यपान गर्नेमध्ये आधा ३५ वर्षभन्दा बढी उमेर समूहका हुन्छन् ।
‘मुटुलगायत समग्र स्वास्थ्यसँग जोडिएको विषय अनियन्त्रित मद्यपानबारे मुलुकमा खासै कुनै गहिरो अध्ययन छैन,’ अनियन्त्रित मदिरा सेवनले हृदयाघात,
स्ट्रोक आदि भएको प्रशस्त घटनाहरू रहेका औंल्याउँदै मुटु रोग विशेषज्ञ डा.ओममूर्ति अनिल भन्छन् ।
डा. ओममूर्तिका अनुसार स्वस्थ व्यक्तिलाई समेत अनियन्त्रित मदिरापानले गर्दा मुटुको सामान्य रक्तनलीमा रगत जमेर हृदयाघात भएका घटनासमेत प्रशस्त छन् ।
मदिरा सेवनले शरीरको मूलभूत कार्य प्रणालीलाई नोक्सान पुर्‍याउनुका साथै निद्रामै बित्ने जोखिमसमेत कायम रहन्छ । मदिरा विषाक्तमा बान्ता, भ्रम, श्वासको गति सुस्त हुनु, असामान्य श्वासप्रश्वास र शितांगजस्तो लक्षण देखिन्छ ।
कम समयमै अनियन्त्रित रूपमा अत्यधिक मदिरा सेवनले हृदयाघात गराउनुका साथै ज्यान लिइरहेको औंल्याउँदै डा. ओममूर्ति भन्छन्, ‘अनियन्त्रित
मदिरापानले अन्य स्वास्थ्य चुनौतीसँगै यौनहिंसालाई समेत बढाइरहेको छ ।’
अनियन्त्रित मदिरापानको थुप्रै गम्भीर स्वास्थ्यसम्बन्धी जोखिम छन् । सीडीसीका अनुसार यसअन्तर्गत नजानीकनै चोटपटक लाग्नु, मोटरसाइकल, गाडी दुर्घटना, लड्नु, आगो लाग्नु, मदिरा विषाक्तता, आमहत्या, हिंसा, यौन हमला–हिंसा आदि हुन् ।
यति मात्र नभई कलेजोसम्बन्धी समस्या, यौन सञ्चारित रोग, उच्च रक्तचाप, स्ट्रोक मुटुरोग, स्तन, आहार नली तथा कलेजोको क्यान्सर, स्मरण क्षमतामा
ह्रास र मदिरामा निर्भरताजस्ता समस्यासमेत देखिन्छन् । त्यसैगरी, मुटुको चाल अनियमित भएकाले मदिरा सेवन गर्नु हुँदैन । उच्च रक्तचाप अनियन्त्रित भएका मानिसले मदिरा सेवन गर्दा ‘ब्रेन हेमरेज’ हुन सक्छ ।

स्वास्थ्य

डेंगु संक्रमण अझै एक महिना

- कान्तिपुर संवाददाता

(काठमाडौं) - पछिल्लो समय मुलुकमा डेंगुका बिरामीको संख्यामा कमी आउन थाले पनि संक्रमण भने जारी रहेको छ । एडिस एजेप्टी र एडिस एल्बोपिक्टस जातको लामखुट्टेले सार्ने डेंगु संक्रमण अझै एक महिनासम्म देखिन सक्ने विज्ञले जनाएका छन् । विज्ञहरूका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष मुलुकभर नै डेंगु संक्रमण फैलियो । जाडोयाममा घटे पनि पुनः आगामी मनसुन पछाडि बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन् ।

‘पछिल्ला दिनमा बिरामीको संख्यामा कमी आए पनि निरन्तर रूपमा बिरामी आउने क्रम जारी छ,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुन भन्छन् । टेकु अस्पतालमा हाल दिनहुँ ७०/८० जना डेंगुका बिरामी आउने गरेको जानकारी उनले दिए । डेंगुको संक्रमण जारी रहे पनि राजधानीलगायत मुलुकका अन्य ठाउँमा बिरामीको संख्यामा कमी आएको छ । ‘डेंगु संक्रमण रोकिएको त छैन तर पहिलाभन्दा कम भएको छ’, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), किट जन्य रोग नियन्त्रण शाखा प्रमुख डा.प्रकाश शाह भन्छन्, ‘डेंगुका बिरामी अस्पताल आउने क्रम जारी छ ।’


विज्ञहरूको आँकलनअनुसार हाल डेंगुको संक्रमण पहिलेको दाँजोमा करिब ५० प्रतिशत कम भएको छ । पछिल्ला दिनमा डेंगुले मुलुकको कुनै पनि भागमा मृत्यु भएको रिपोर्ट प्राप्त नभएको दाबी सरकारको छ । यस पटक डेंगुको संक्रमणबाट ६ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।
विज्ञका अनुसार कात्तिक महिनाभर डेंगुको बिरामी देखिने क्रम जारी रहनेछ । यसपछि पनि आगामी मनसुनसम्म फाट्टफुट्ट रूपमा यस्ता बिरामी देखिने छन् । ‘आगामी वर्षको मनसुन हुनुभन्दा अगाडिसम्म डेंगु प्रकोप देखिन सक्ने सम्भावना छ,’ डा.शाह भन्छन्, ‘यसपटक त अस्वाभाविक रूपमा मनसुन अगावैदेखि डेंगुको प्रकोप देखिएको हो ।’ यसपटक मुलुकमा प्रकोपकै रूपमा डेंगु देखिएकाले साधारण ज्वरो आउँदा ज्वरो/दुखाइ कम गर्न सिटामोल उपयोग गर्न र एस्प्रिन, ब्रुफेनजस्तो औषधि सेवन नगर्न डा.पुन आग्रह गर्छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुसार डेंगुका लागि कुनै विशिष्ट उपचार छैन । तर छिटो रोग पत्ता लगाएर उचित चिकित्सकीय हेरचाहले मृत्युदर १ प्रतिशतभन्दा कम हुन्छ ।


डा. पुनका अनुसार डेंगुको लक्षणसहित सामान्य ज्वरो भए घरमै प्रशस्त पोसिलो झोल पदार्थ सेवन गरी आराम गर्न सकिन्छ । तर कडा र फरक प्रकारको ज्वरो आउँदा अस्पतालमा जचाएर चिकित्सकीय सल्लाह लिनुपर्छ । संख्यात्मक रूपमा कम भए पनि डेंगु संक्रमण जारी रहेकाले बच्चा, बूढापाका, दीर्घरोगी, गर्भवती, पेप्टिक अल्सर, मोटोपना भएकालाई ज्वरो देखिए विशेष ध्यान दिनुपर्नेसमेत विशेषज्ञहरूले औंल्याएका छन् ।
विज्ञहरूले लामखुट्टेको टोकाइबाट बच्ने र डेंगु सार्ने लामखुट्टेलाई खोजेर मास्ने अभियान नै रोग नियन्त्रणको सर्वोत्तम उपाय रहेको बताउँदै आएका छन् । डेंगु सार्ने एउटा लामखुट्टेले १०० देखि ३०० वटा फुल पार्छ । यी फुल ७ देखि ११ दिनमा वयस्क हुन्छ । यस्ता फुल एक वर्षभन्दा बढी समयसम्म उपयुक्त वातावरण पाए पुनः लामखुट्टेमा परिणत हुन सक्छन् । यसको एउटा खतरनाक पक्ष के हो भने, संक्रमित लामखुट्टेले पारेको फुलबाट निस्किने सबै लामखुट्टेले रोग सार्छन् ।

 

Page 10
समाचार

न्यायाधीश शाहीलाई बर्खास्त सिफारिस

मुद्दाको आदेश नहुँदै न्यायाधीश शाहीले ‘काम भयो, हस्ताक्षर हुन बाँकी छ’ भन्ने म्यासेज गरेको भेटिएपछि खराब आचरणको आरोपमा कारबाही सिफारिस
- कृष्ण ज्ञवाली

(काठमाडौं) - क्षेत्राधिकार नभएका विषयमा मुद्दा हेरेको भन्दै छानबिनमा तानिएका उच्च अदालत पोखराका तीनजना न्यायाधीशमध्ये नरबहादुर शाही ‘खराब आचरण’ को आरोपमा बर्खास्तको सिफारिसमा परेका छन् । चितवनको आन्तरिक राजस्व कार्यालयले गरेको निर्णयविरुद्ध परेको निवेदनमा ‘प्रादेशिक क्षेत्राधिकारका विषयमा गम्भीर त्रुटि गरी आदेश गरेको’ भनी सर्वोच्च अदालतले गत साउन ९ गते उच्च अदालतका न्यायाधीशहरू जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवलाई न्यायपरिषद्मा झिकाई छानबिन गर्न आदेश दिएको थियो ।
‘छानबिनमा परेका मध्ये दुई जनाले राजीनामा दिएकाले उहाँहरूका बारेमा बोल्नु परेन,’ न्यायपरिषद्को निर्णयबारे प्रवक्ता मानबहादुर कार्कीले कान्तिपुरसँग भने, ‘शाहीका हकमा खराब आचरणका विषयमा बर्खास्त गर्न सिफारिस गर्ने निर्णय भएको हो ।’ उनले अरू विषयवस्तु प्रतिवेदनमै रहेको भन्दै खुलाउन चाहेनन् ।
न्यायपरिषद्का एक सदस्यका अनुसार प्रायजसो कर विवादमा मुछिइरहने गोर्खा ब्रुअरीको मुद्दामा विवादास्पद आदेशका दिन शाहीको मोबाइलबाट मुद्दाका पक्षधरको मोबाइलमा म्यासेज गएको भेटिएको छ । म्यासेजमा ‘काम भयो, हस्ताक्षर हुन बाँकी छ’ भन्ने व्यहोरा रहेको ती सदस्यले बताए । ‘छानबिनक्रममा हेर्दा मुद्दाको पक्षसँग तीनै जना न्यायाधीश सम्पर्कमा रहेको पुष्टि भयो,’ ती सदस्यले भने ।
राजीनामा दिएका न्यायाधीशबारे परिषद्ले कुनै टिप्पणी गरेको छैन । छानबिन सुरु हुनासाथ राजीनामा दिई कान्तिपुरमा लिखित प्रतिक्रिया पठाउँदै न्यायाधीश जीवनहरि अधिकारीले आफूले आदेशमा कुनै त्रुटि नगरेको र आचारसंहिता पनि उल्लंघन नगरेको दाबी गरेका थिए ।
न्यायपरिषद्ले आदेशको बैधता र धरातलबाट कुनै टिप्पणी गरेको छैन । उच्च अदालतको आदेशबारे सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत न्यायिक प्रतिक्रिया दिएको र विषयवस्तु सर्वोच्च अदालतमा विचाराधीन रहेकैले छानबिन समिति मुद्दाको विषयवस्तुमा प्रवेश गरेन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले तीन न्यायाधीशलाई छानबिन र कारबाही गर्न आदेश दिएलगत्तै छानबिनका लागि सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको एकल समिति गठन भएको थियो ।
गत साउन ९ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आदेश गरेको विषयवस्तु भरतपुरमा रहेको राजस्व कार्यालयले गरेको निर्णय उच्च अदालत पोखराले हेर्न मिल्ने वा नमिल्ने भन्नेमा केन्द्रित थियो । आन्तरिक राजस्व कार्यालय भरतपुरले ०७६ जेठ ७ गते गोरखा ब्रुअरीका नाममा पत्र पठाएको थियो भने ९ गते अन्तशुल्क निर्धारणको आदेश गरेको थियो । उक्त आदेशअनुसार राजस्वले आर्थिक वर्ष २०७३/७४ का लागि ५२ करोड १६ लाख रुपैयाँ र ०७४/७५ का लागि ३५ करोड ९४ लाख रुपैयाँ अन्तशुल्क निर्धारण गरेको थियो । त्यसविरुद्ध ब्रुअरीले प्रशासनिक पुनरावलोकनका लागि जाने बाटो रोजेन ।
उच्च अदालतको हेटौंडा इजलास वा सर्वोच्च अदालत आउनुपर्नेमा क्षेत्राधिकार नपर्ने उच्च अदालत पोखरामा गएकोमा प्रधानन्यायाधीशको एकल इजलासले उच्च अदालत पोखराको आदेशको कठोर आलोचना गरेको थियो । इजलासमा बसेका न्यायाधीशहरूले क्षेत्राधिकार नमिचिएको दाबी गरेका थिए ।


सरकारी वकिलहरूले त्यतिबेला क्षेत्राधिकार नहुने भनी पोखरामा इजलासको ध्यानाकर्षण गराएका थिए । त्यसका बाबजुद उच्च अदालत पोखरामा न्यायाधीश रामचन्द्र यादवको एकल इजलासले ०७६ जेठ २० गते अल्पकालीन अन्तरिम आदेश दियो अनि असार १ गते जीवनहरि अधिकारी र नरबहादुर शाहीको इजलासले अन्तरिम आदेश जारी गर्‍यो ।
उक्त आदेशविरुद्ध आन्तरिक राजस्व कार्यालय भरतपुरको तर्फबाट प्रमुख कर अधिकृत सूर्यप्रसाद रिजालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उनले उच्च अदालत पोखरासमेतलाई विपक्षी बनाई अन्तरिम आदेश खारेजीको माग गरे । त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुका साथै तीन जना न्यायाधीशमाथि छानबिन र कारबाहीका लागि न्यायपरिषद्मा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

समाचार

सांसद साह साधारण तारेखमा छुटे

- सन्तोष सिंह

(धनुषा) - जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा रिहा गरेको छ । शुक्रबार थुनछेक बहसपछि जिल्ला अदालतले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद साहलाई रिहा गरेको हो ।
इजलास नम्बर ३ मा सांसद साहविरुद्धको मुद्दामा थुनछेक बहस भएको थियो । जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले सांसद साहविरुद्धको मुद्दामा साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो ।


नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले सोमबार सांसद साहविरुद्ध गैरसैन्य हवाई उड्डयन ऐन, २०१५ को दफा ९ बमोजिम कारबाही मागसहित जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएका थिए ।
साहलाई मंगलबार प्रहरीले पक्राउ गरेर जनकपुर ल्याएको थियो । गैरसैन्य हवाई उड्डयन ऐनअनुसार हवाई उडान सञ्चालन तथा सुरक्षामा खतरा वा बाधा उत्पन्न गराउने कार्य गरे हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षाविरुद्ध अपराध गरेको मानिने भन्ने व्यवस्था छ तर प्रतिवादी सांसद साहले उल्लिखित कुनै पनि कार्य नगरेको ठहर आदेशमा गरिएको छ । विमानको ढिलाइका कारण सांसद साहले सम्बन्धित कार्मचारीसँग गरेको प्रतिवादले सुरक्षामा अवरोध गरेको भन्ने अवस्था नरहेको आदेशमा भनिएको छ ।


घटना र क्षति विवरणमा एउटा ग्लास फुटेर ५० रुपैयाँ क्षति भएको उड्डयन कार्यालयको पत्रमा खुलेको, मिसिलमा उल्लेख भएको बुद्ध एयरको काउन्टरमा क्षतिसम्बन्धी कुनै पत्र नरहेको, सांसद साह सोही दिन बुद्ध एयरबाट काठमाडौं गएको कागजातबाट देखिएको हुँदा विमान ढिलाइका कारण विमानस्थलका कर्मचारीसँग सामान्य विवाद भएको सम्म मात्र देखिएको आदेशमा उल्लेख छ । सांसद साह तारेखका लागि कात्तिक ६ गते अदालत उपस्थित हुनुपर्नेछ ।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर साहले अदालतको आदेशलगत्तै सांसद साहलाई हिरासतमुक्त गरिएको बताए । अदालतको आदेशपछि सांसद साहले पीडितका लागि आवाज उठाउँदा न्यायालयबाट न्याय पाएको प्रतिक्रिया दिएका छन् । काठमाडौं उड्न सोमबार जनकपुर विमानस्थल पुगेका सांसद साहले विमान ढिलो भएको झोँकमा बुद्ध एयरको काउन्टरमा लात्ती हानेका थिए । मंगलबार पक्राउ परेका उनलाई बुधबार जिल्ला अदालतले अनुसन्धानका लागि प्रहरीलाई चार दिनको म्याद दिएको थियो । म्याद सकिन दुई दिन बाँकी छँदै जिल्ला प्रहरी कार्यालय, धनुषाले अनुसन्धानको फाइल र सांसद साहसित लिइएको बयानलाई आधार बनाएर बिहीबार अदालतमा मुद्दा पेस गरेको थियो ।

Page 11
अर्थ वाणिज्य

गैरआवासीय नेपाली संघमा पन्त

- विमल खतिवडा
गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्त तथा अन्य पदाधिकारी होटल हयात परिसरमा समर्थकमाझ । तस्बिर ः कबिन अधिकारी कान्तिपुर

(काठमाडौं) - गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कुल आचार्यलाई १४७ मतअन्तरले पराजित गर्दै पन्त विजयी भएका हुन् । उनले १२१७ मत ल्याए । आचार्यले १०७० मत प्राप्त गरेका थिए । चाबहिलस्थित होटल हयातमा सम्पन्न मतदानअनुसार चार उपाध्यक्षमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी र सोनाम लामा विजयी भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा रविना थापा, महासचिवमा हेमराज शर्मा निर्वाचित भएका छन् ।
निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेका अनुसार सचिवमा गौरीराज जोशी, आरके शर्मा र कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल, महिला संयोजकमा भोमादेवी लिम्बु, युवा संयोजकमा हिमाल गुरुङ निर्वाचित भएका छन् । ४१ पदका लागि निर्वाचन भएको थियो । केही पदमा भने उम्मेदवारी नपरेको र केहीमा भने निर्विरोध निर्वाचित भए पनि अधिकांश पदमा निर्वाचन भएको थियो ।
बिहीबार भएको मतदानमा कुल २५७० मतदातामध्ये २३४४ मत खसेको थियो । जसमा सबैभन्दा बढी युरोपबाट ९२० मत खसेको थियो । अमेरिकाबाट २७१, अस्ट्रेलिया र न्युजिल्यान्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको छ । राति अबेर मतगणना भएकाले समयमै परिणाम आउन ढिलाइ भएको थियो । मत पत्रको आधारमा मतदान गरिएकाले मतदान र मत गणनामा ढिलाइ भएको थियो ।
मंगलबार सुरु संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन बिहीबार सकिने जनाइएको थियो । विद्युतीय भोटिङ मेसिनले काम नगर्दा समयमै मतदान हुन नसकेको संघले जनाएको छ ।
शुक्रबार मध्याह्न मत परिणाम सार्वजनिक हुनासाथ विजयी उम्मेदवारका आफन्त अविर, माला र खादा बोकेर होटलमा जम्मा भएका थिए । होटल परिसर बिहानैबाट पञ्चेबाजाले गुञ्जयमान बनेको थियो । विजयी भएकालाई मतदाता र आफन्तले अविर जात्रा गरेर काँधमा राखी विजयी नारा लगाएका थिए । अप्रिय घटना हुन नदिन होटल परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र ससशस्त्र प्रहरी परिचालन गरिएको थियो । एनआरएनए सम्मेलनको व्यवस्थापन पक्ष भने एकदम कमजोर देखिन्थ्यो । बिहान १० बजे गणना सकिए पनि १ बजे मात्र मत परिणाम सार्वजनिक गरिएको थियो ।


१२ बुँदे घोषणा जारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सकिएको जनाएको छ । नेपालमा उपयुक्त वातावरण सिर्जना भएकाले जलविद्युत्, पर्यटन, बैंकिङ, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि र सूचना तथा सञ्चार प्रविधिलगायत क्षेत्रहरूमा लगानी गर्न आह्वान गरेको छ ।
नेपालको संविधानमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको लागि ऐन निर्माणमा तदारूकताका साथ लागि पर्न सरकारलाई अनुरोध गरेको छ । ‘बाह्य लगानी आकर्षणमा प्रमुख बाधक रूपमा औंल्याइएको दोहोरो करको समस्यालाई सम्बोधन गरी लगानी आकर्षणको वातावरण बनाउन नेपालको कूटनीतिक नियोग रहेका र धेरै नेपालीको बसोवास रहेका मुलुकहरूसँग अविलम्ब दोहोरो कर उन्मुक्तिको सम्झौता, लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौतालगायतका सम्झौता’ गर्न पनि अनुरोध गरेको छ । गैरआवासीय नेपाली संघ र अभियान एक गैरराजनीतिक चरित्रको भएको बताउँदै दलगत राजनीतिबाट टाढा राख्न राजनीतिक दल र विदेश स्थित भ्रातृ संगठनहरूलाई आह्वान पनि गरेको छ ।


ॅनामावली नदिँदा मेसिनबाट मतदान भएन’
समयमै मतदाता नामावली उपलब्ध नगराउँदा भोटिङ मेसिनमार्फत मतदान गराउन नसकेको सञ्चालकहरूले बताएका छन् । मेसिनमा कुनै प्राविधिक खराबी नरहेको भोटिङ मेसिनका सञ्चालकहरू रामप्रसाद रिमाल र लक्ष्मण रिमालले विज्ञप्ति जारी गरी बताएका हुन् । मेसिनको त्रुटिभन्दा पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) को अव्यस्थाका कारण मतदान गराउन नसकिएको उल्लेख छ । अन्तिम नामावलीको प्रमाणित प्रतिन्यूनतम ८ घण्टाअघि नै दिने भनिए पनि ३ घण्टा पनि समय नपाएको बताएका छन् ।
‘निर्वाचन समितिबाट आधिकारिक नाम पाउन सकेनौं, काम गर्ने समय पनि पर्याप्त भएन,’ विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारको नाम तस्बिर राखी नसक्दै बाहिरको भीड थामी नसक्नु भयो, परीक्षणबिनै मतदान सुरु गर्नुपर्ने बाध्यताले मेसिनको बट्टामा नट कस्नसम्म भ्याएनौं ।’ मतदान सुरु गर्दा फोटो र नाममा समस्या देखिएको र उक्त समस्यालाई तुरुन्तै समाधान गरी सोही ठाउँमा देखाइसकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘हामीले विकास गरी पचासौं निर्वाचन सम्पन्न गरेको भोटिङ मेसिनमा आजसम्म कुनै प्राविधिक खराबी नरहेको सबैमा जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले हामीलाई अझ अनुभवी बनाएको छ ।’ एनआरएनएको निर्वाचनमा विद्युतीय मेसिनबाट भोटिङ हुने भनिए पनि पहिलो भोटिङमै मेसिन बिग्रँदा मत पत्रका आधारमा मतदान गराइएको थियो ।

अर्थ वाणिज्य

‘विकृति रोक्न निःशुल्क सदस्यता र ई–भोटिङ’

- कान्तिपुर संवाददाता
कुमार पन्त
नवनिर्वाचित अध्यक्ष

 

गैरआवासीय नेपाली अभियानमा कसैको पनि हारजित हुँदैन । सबैले जित्छौं । कोही पनि संस्था बाहिर रहने छैन । सबैलाई एकताबद्ध बनाएर लग्ने प्रण गर्दछु । नेपालले हामीबाट ठूलो अपेक्षा र आशा राखेको राम्रोसँग महसुस गरेको छु । हामीले भर्खरै मात्र नेपाल सरकारसँग कम्तीमा पनि १० अर्ब बराबरको लगानी ल्याउँछौं भनेका छौं । यसको निम्ति म प्रतिबद्ध छु । भोलिबाटै यो रकम ल्याउने काममा लाग्नेछु । मैले ८० लाख गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा विकसित गर्न चाहेको छु । हाम्रो संस्थाभित्र केही विकृतिहरू भित्रिएका छन् । संस्थालाई जबर्जस्ती राजनीतिकरण गर्न खोजिएको छ । जुन होटलमा बसेर हामी सम्मेलन गर्दै थियौं, त्यहाँ कोठामा कोठामा राजनीतिक दलका नेताहरूले चाहार्ने र भोट माग्ने काम गरे । यो संस्था कुनै राजनीतिक दलको भ्रातृ संस्था पो हुने हो कि भन्ने डर छ । अर्को संस्थामा व्यापक आर्थिक विकृतिहरू भित्रिएका छन् । चुनावमा आर्थिक चलखेल गर्ने, आर्थिक प्रलोभन देखाएर भोट प्रभावित पार्ने कुरा आइरहेका छन् । यस्ता कुराहरूको निराकरण र अन्त्यका लागि निःशुल्क सदस्यताको व्यवस्था गरिनेछ । यसो गर्नसाथ पैसाको लगानी कसैले पनि गर्नुपर्ने छैन । जो चर्चित र योग्य छ, उसैलाई संसारभरका गैरआवासीय नेपालीले निर्वाचित गराउनेछन् । अहिले प्रविधिको जमानामा पनि काठमाडौंमा भेला भएर, लाइन लागेर भोट गर्नुपर्ने अवस्था छ । हजारौं रुपैयाँ खर्च हुन्छ । अब घरघरमै बसेर ई–भोटिङ गर्ने व्यवस्थाको विकास गर्नेछु । नयाँ नेतृत्व छान्न काठमाडौंमा आइरहनुपर्ने छैन ।

अर्थ वाणिज्य

साढे २० हजार हेक्टर धानबालीमा क्षति

फौजी किराको प्रकोप
- राजु चौधरी

(काठमाडौं) - फौजी किराको प्रकोपले मुलुकभर साढे २० हजार हेक्टर धानबालीमा क्षति पुगेको सरकारी अध्ययनले देखाएको छ । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार कात्तिक १ गतेसम्म २० हजार ४ सय १४ हेक्टर धानबालीमा फौजी किराले क्षति पुर्‍याएको हो । ‘थप अध्ययन भइरहेको छ,’ केन्द्रका कार्यकारी प्रमुख सहदेवप्रसाद हुमागाईले भने । हालसम्मको अध्ययनमा सबैभन्दा बढी प्रदेश ५ को धानबालीमा क्षति पुगेको छ । बाँकेमा १७ हजार हेक्टर धानबाली नष्ट भएको छ । यसपछि सबैभन्दा बढी बर्दियामा २ हजार हेक्टरमा क्षति भएको जनाएको छ ।
अहिले खेतमा धान पाकेको बेला फौजी किराले बोट र बाला काटेपछि किसान मारमा परेका छन् । किसानले किरा मार्ने विषादी छरे पनि खासै नियन्त्रणमा आएको छैन । किसानका अनुसार दिउँसो किरा लुक्ने र राति बढी क्षति पु‍र्‍याउने गरेको छ । ‘फौजी किरा आक्रामक रूपमा फैलिँदै गएको छ । कृषिका लागि यो महारोग हो,’ राष्ट्रिय किसान समूह महासंघका निवर्तमान अध्यक्ष उद्धव अधिकारीले भने, ‘रोगले किसान चिन्तत छन् । यसले कृषि क्षेत्रमै ठूलो नष्ट पार्छ ।’ उनका अनुसार धानबालीसँगै धादिङका केही क्षेत्रमा कोदोमा समेत फौजी किरा देखिएको छ । सरकारले तत्कालीन नियन्त्रण नगरे समग्र कृृषि क्षेत्र समस्यामा पर्ने उनले बताए ।
प्रदेश १ मा ४ जिल्लामा फौजीको असर देखिएको छ । झापामा २ सय ८७ हेक्टर, उदयपुरमा १ सय ४१ हेक्टर, सुनसरी ७७ हेक्टर र मोरङ १२ हेक्टरमा क्षति भएको छ । प्रदेश ३ तर्फ सबैभन्दा बढी चितवनमा क्षति पुगेको छ । चितवनमा ६ सय ४४ हेक्टर, मकवानपुरमा १ सय ३ हेक्टर, सिन्धुलीमा १ सय ५० हेक्टरमा क्षति केन्द्रका पुगेको हुमागाईले बताए । धादिङ र ललितपुर क्षेत्रमा सामान्य असर गरे पनि पहिचान हुन नसकेको केन्द्रले जनाएको छ । ‘समन्वयको पाटोमा समस्या देखिएको छ,’ हुमागाईले भने, ‘जसले गर्दा सबै क्षेत्रबाट विवरण संकलन हुन सकेको छैन ।’
प्रदेश २ को रौतहट र बारामा क्षतिको रिपोर्टिङ भए पनि तथ्यांक आइसकेको छैन । केन्द्रका अनुसार कर्णाली र सुदूरपश्चिममा भने फौजी किराको प्रकोप छैन । केन्द्रका अनुसार फौजी किरा धान पाक्ने बेला बढी सक्रिय देखिन्छ । यसले धानको बाला नै टुक्राउँछ । काटेको बाला पनि टुक्राउँछ । जानकार अनुसार नेपालको हकमा नियन्त्रण बाहिर नै छ । समयमै नियन्त्रण हुने सबै बाली सखाप पार्ने विज्ञहरू बताउँछन् । ‘यसको नियन्त्रण गर्ने दायित्व केन्द्रसँगै प्रदेश, स्थानीय सरकारले पनि हो,’ कार्यकारी प्रमुख हुमागाईले भने, ‘स्थानीय र प्रदेश सरकारलाई प्रोटोकलका कुरा, तालिम/परीक्षण दिएका छौ । नियन्त्रणका लागि सबै क्षेत्र सक्रिय हुनुपर्छ ।’ यी निकायबाहेक किसानको हकहितका लागि किसान आयोग पनि छ । तर, किसानको समस्यामा आयोग उदासीन छ । प्रभावकारी रूपमा काम गर्न नसकेको जानकारहरू बताउँछन् ।
किसान आयोगका प्रवक्ता रवीन्द्र केसीले भने किरा नियन्त्रण गर्ने सम्भावना रहेको बताए । यसका लागि कृषि ज्ञान केन्द्र, प्रदेश मन्त्रालयले प्राविधिकहरू खटाउनुपर्ने उनले बताए । ‘तराईका पूर्वतिर जटिल समस्या छ । मानवीय असर नहुने गरी किटनाशक प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ,’ उनले भने, ‘किसानले क्षतिपूर्ति पनि पाउनुपर्छ ।’ केन्द्रका निवर्तमान अध्यक्ष डिल्लीराज शर्माका अनुसार फौजी किरा अमेरिकाको किरा हो । यो बृहत् रूपमा नोक्सान गर्ने राजचर (रात्रि) किरा हो । ‘३ वर्षअघि अफ्रिकामा मकैलाई ध्वस्त बनायो । गत वर्ष भारत प्रवेश गर्‍यो,’ उनले भने, ‘त्यसपश्चात् बंगलादेश, श्रीलंका, थाइल्यान्ड, चीन, कोरियासम्म फैलिएको छ ।’ उनका अनुसार फौजीले एउटा बाली मात्रै नभई धेरै बाली नष्ट गर्छ । सबैभन्दा बढी मकैलाई असर गर्छ । ‘करिब ८० प्रकारको घाँस बालीलाई नोक्सान पुर्‍याउँछ,’ उनले भने ।

फौजी किरा रातमा मात्रै चल्छ । एक रातमा एक सय किलोमिटर उड्न सक्छ । यो किरा गर्मी ठाउँमा बढी सक्रिय हुन्छ । १४ डिग्रीभन्दा कममा बाँच्न नसक्ने शर्माले बताए । धानलगत्तै मकै खेती हुने हुँदा तत्काल रोकथाम आवश्यक रहेको उनले बताए । ‘अहिले नै रोकथाम भएन भने मकै बाली ध्वस्त पार्छ,’ शर्माले भने ।


नियन्त्रणको उपाय
फौजी किरा मार्न अहिले विषादी प्रयोग भइरहेको छ । फौजीको प्रकोप नियन्त्रण गर्न विषादीभन्दा प्राकृति प्रविधि अपनाउनुपर्छ । पूर्वमहानिर्देशक शर्माका अनुसार एकृकीत शत्रुजीव व्यवस्थापन अपानाउनुपर्छ । ‘फौजी किराले कहाँ अण्डा पार्‍यो, कसरी हुर्कियो हेर्नुपर्छ ।
त्यसको आधारमा उपचार गर्नुपर्छ,’ निवर्तमान महानिर्देशक शर्माले भने, ‘फौजी किरालाई खपटे किरालगायत भाइरसले मार्छ । एकीकृत शत्रुजीव व्यवस्थापनको आधारमा नियन्त्रण गर्दा दिगो हुन्छ ।’ विषादी मात्रै प्रयोग गर्दा प्रकोप थप बढ्ने जानकारहरू बताउँछन् । महासंघका निवर्तमान अध्यक्ष अधिकारीले पनि फौजी किरा विषले नियन्त्रण हुन नसक्ने बताउँछन् ।
‘विष हालेर किरा सिध्याउने सिद्धान्त नै गलत हो । विषको असर अरू क्षेत्रमा पनि गर्छ,’ अधिकारीले भने, ‘किरा नियन्त्रण गर्न अन्य किरा उत्पादन गरेर समस्या समाधान गर्नुपर्छ ।’

अर्थ वाणिज्य

बंगलादेशसम्म बस चलाउन छलफल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल र बंगलादेशबीच कात्तिक ४ र ५ गते काठमाडौंमा हुने वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको बैठकमा बस सेवा सञ्चालनबारे छलफल हुने भएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार बैठकमा नेपाल र बंगलादेशबीच व्यापार, वाणिज्य, लगानी अभिवृद्धिसँगै बस सेवा सञ्चालनका विषयमा छलफल हुन लागेको हो ।
नेपाल, भारत, बंगलादेश र भुटानबीच सन् २०१५ को जुनमा भएको ‘बीबीआईएन मोटर भेहिकल’ सम्झौता भएको थियो । २०७५ वैशाख १२ मा परीक्षणका रूपमा ढाकाबाट दुई बस नेपाल ल्याइएको थियो । यो सम्झौतामा भुटानले हस्ताक्षर गरेको छैन । फूलबारी–बंगलाबन्द मार्ग परीक्षणका रूपमा सञ्चालन भएका ती बस काठमाडौं आएर ढाका फर्किएपछि सेवालाई निरन्तरता दिइएन ।
मन्त्रिपरिषद्ले सहसचिवस्तरीय प्राविधिक समितिको बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय टोली गठन गरेको छ । नेपाल र बंगलादेशबीच हुन लागेको यो चौथो बैठक हो । यस्तै मन्त्रिपरिषद्ले व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन संस्थागत संरचना स्वीकृत गरेको छ । व्यापार इन्डेक्समा सुधार गर्न र लगानीको वातावरण बनाउन संस्थागत संरचना स्वीकृत गरिएको सरकारले जनाएको छ ।


आर्थिक सहायता
सञ्चारमन्त्री बाँस्कोटाका अनुसार मन्त्रिपरिषद्ले सशस्त्र द्वन्द्वमा मारिएका बाँके नेपालगन्ज–२ का अधिकारकुमार शर्माका बाबु जयलाललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । जनआन्दोलनमा घाइते काभ्रेको पाँचखालकी सानुमाया लामालाई ३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
वन क्षेत्र प्रयोग गर्न दिने
सरकारले जलविद्युत्, प्रसारण लाइन, बसपार्क, चुनढुंगा उत्खननका लागि विभिन्न जिल्लामा वन प्रयोग गर्न दिने निर्णय गरेको छ । तल्लो इर्खुवा खोला जलविद्युत्का लागि भोजपुरका षडानन्द–१ को १.३७ हेक्टर राष्ट्रिय वन, मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण आयोजनका लागि बेंसीसहर नगरपालिकामा रहेका सामुदायिक र राष्ट्रिय गरी १६.२८ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको हो । यस्तै भेरीगंगा बसपार्क निर्माण र सञ्चालनका लागि वडा नं १२ स्थित राष्ट्रिय वन २.१५ हेक्टर, माथिल्लो छन्दी खोला साना जलविद्युत्का लागि लमजुङ र दोर्दी गाउँपालिकास्थित राष्ट्रिय वनको १.३१७ हेक्टर वन दिइने भएको छ ।
चुनढुंगा उत्खननका लागि तनहुँको व्यास, उदयपुरको उदयपुरगढी, ललितपुरको गोदावरीमा रहेका वन क्षेत्र उपयोग गर्न दिने सरकारले निर्णय गरेको छ । रेडियो नेपालको खुमलटारस्थित जग्गा प्रतिआना ४० लाख रुपैयाँका दरले नेपाल दूरसञ्चार प्राधिकरणलाई दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

Page 12
अर्थ वाणिज्य

१० गतेदेखि हिमालयको बेइजिङ उडान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– हिमालय एयरलाइन्सले लक्ष्मी पूजाको दिन (कात्तिक १० गते) देखि काठमाडौंबाट चीनको राजधानी बेइजिङ उडान गर्ने भएको छ ।
हिमालय एयरलाइन्सको ब्रान्ड तथा सर्भिस प्रमुख उज्वला दलीले पहिलो उडान कात्तिक १० गते हुने पक्कापक्की भएको बताइन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना नागरिकहरूलाई नेपाल भम्रणमा उत्प्रेरित गर्ने अभिव्यक्ति दिएपछि नेपालमा चिनियाँ पर्यटक भित्र्याउने व्यवसायीलगायत सरोकारवालासँग पर्यटन बोर्डले बिहीबार गरेको अन्तर्क्रियामा हिमालय एयरलाइन्सले उडानको मिति घोषणा गरेको हो ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायत उपस्थित कार्यक्रममा बोल्दै दलीले काठमाडौं–बेइजिङ सिधा उडान हिमालय एयरलाइन्सको न्यारोबडी जहाज एयरबस ३२० बाट हुन लागेको बताइन् । उनका अनुसार हिमालयले सातामा तीन दिन बेइजिङ उडान गर्ने छ । हिमालयले चीनको गुइयाङ, छाङसा र नानछाङमा सातामा एक/एकवटा उडान गर्ने भएको छ ।


हालसम्म नेपालको राजधानी काठमाडौं र चीनको राजधानी बेइजिङमा सिधा उडान भएका थिएनन् । हिमालयले दुई मुलुकका राजधानी जोड्ने सिधा उडान पहिलोपटक हुन लागेको जनाएको छ । हाल हङकङ तथा चीनका चारवटा सहर ल्हासा, छेन्दु, ग्वाङजाव, कुनमिङबाट काठमाडौंका लागि सातवटा एयरलाइन्सले उडान गर्दै आएका छन् । हिमालयले बेइजिङ उडान थालेपछि नेपाल र चीनबीच आठवटा एयरलाइन्सले छ वटा स्थान जोड्नेछन् ।

अर्थ वाणिज्य

कात्तिकभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीलाई कात्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान लिन आग्रह गरेको छ । ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमै दोस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्न भूकम्पपीडितलाई आग्रह गरेका हुन् । २०७५ असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय कात्तिक मसान्तसम्म तोकिएको छ ।
सरकारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रोमा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ९ सय १० लाभग्राहीसँग अनुदान सम्झौता भएकामा ७ लाख ६८ हजार ५ सय ४९ लाभग्राहीले पहिलो किस्ता, ६ लाख १२ हजार १ सय ५ जनाले दोस्रो र ५ लाख ७ जार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् ।

अर्थ वाणिज्य

अलैंची अध्ययन गर्न विदेशी बगानमा

- आश गुरुङ
अलैंचीको व्यावसायिक सम्भाव्यता अध्ययनका लागि जर्मन, अस्ट्रिया र स्विटजरल्यान्डबाट आएका व्यवसायी लमजुङको अलैंची बगानमा । तस्बिर ः कान्तिपुर

(लमजुङ) - जिल्लामा उत्पादित अलैंचीलाई जर्मन, अस्ट्रिया र स्विटजरल्यान्ड निर्यात गर्न त्यहाँका व्यवसायीले सम्भाव्यता अध्ययन गरेका छन् । मसला बालीको व्यवसाय प्रवर्द्धन गर्दै आएका उनीहरूले मर्स्याङ्दी गाउँपालिका–७ लुदीमा आएर अध्ययन गरेका हुन् । यो समूहले टिमुरका लागि म्याग्दीमा सम्भाव्यता अध्ययन गरिसकेको छ । कफीका लागि सोलुखुम्बुमा अध्ययन गर्ने तयारीमा छ । उनीहरूले अलैंची बगानको अवलोकन गर्ने टिप्ने तरिका, टिपेपछि सुकाउन भट्टीसम्म लाने प्रक्रिया, सुकाउने विधि, गुणस्तर, भण्डारणलगायतको विषयमा अध्ययन गरेका छन् । फार्मिङ फर हेल्थमार्फत उनीहरूलाई अलैंची पठाएपछि सोचेअनुसारको गुणस्तर पाइएकाले सम्भाव्यता अध्ययन गरेको टोलीले बताएको छ । अस्ट्रियास्थित लुफान्सा एयरलाइनसका सिनियर पाइलटसमेत रहेका हेल्प अलाइनसका अध्यक्ष डोमिनिक कोप्पले अलैंची गुणस्तर देखेर अध्ययनका लागि आएको बताए । फार्मिङ फर हेल्थको अस्ट्रियाका अध्यक्ष प्रोफेसर कर्ट लुगरले नेपालबाट केही मसला बाली भित्र्याउने योजनाका साथ अध्ययन थालिएको बताए । जर्मन नागरिक लुफान्साका खाद्य व्यवस्थापक थोमस ब्रोकेनाउरले जर्मनमा भिन्दै खालको मसला बाली हुने गरे पनि अलैंची भने नहुने बताए । ‘हामी जर्मन मात्रै नभई अन्य देशमा पनि यहाँको अलैंची लान चाहान्छौं । हाम्रो अध्ययन यसैका लागि हो,’ उनले भने । स्विटजरल्यान्डस्थित स्विस एयरलाइन्सका खाद्य व्यवस्थापक बेनिडिक्ट फन्कोनीले भने, ‘हामीले गर्दा केही हुन्छ भने गरौं भनेर आएको हौं । व्यावसायिक प्रवर्द्धनका लागि तयार छौं ।’


अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष एवं प्रधामन्त्री कृषि आधुनीकीकरण अलैंची जोन सञ्चालक समितिका अध्यक्ष अजय तामाङका अनुसार जर्मन, अस्ट्रिया र स्विटजरल्यान्डबाट आएका आएका व्यवसायीले बिहीबार अलैंची बगानमै पुगेर अध्ययन गरेका थिए । उनीहरूले अलैंची टिपेको, ल्याएर सुकाएको, ग्रेडिङ गरेको लगायत हेरेका थिए । अलैंची खेतीबारे स्थानीयर्सग अन्तरक्रियासमेत गरेका थिए । ‘लमजुङको अलैंचीप्रति विदेशी कृषक र व्यवसायीको चासो बढ्न थालेको छ । अहिलेको अध्ययन विदेश लैजानको लागि हो,’ उनले भने । उनका अनुसार यसअघि भारत, भुटान र अस्ट्रेलियाका नागरिकले लमजुङको अलैंची अध्ययन गरेका छन् ।
लुदी अलैंची कृषक समूहका सञ्चालक सोमबहादुर तामाङका अनुसार गाउँका ४४ घरपरिवारले १५ देखि २० रोपनीमा खेती गरेका छन् । कृषक समूह पनि छ । ‘हामीले फलाएको अलैंची विदेश लाने तयारीका लागि गरिएको अध्ययनले हामी उत्साहित भएका छौं,’ उनले भने । फार्मिङ फर हेल्थका निर्देशक नारायण ढकालका अनुसार सुरुमा अलैंचीको नमुना पठाइएको थियो । सम्भाव्यता गर्न ‘बिजनेस लिडर’ सहित जर्मनका ८, स्विटजरल्यान्डका ४ र अस्ट्रियाका २ नागरिक नेपाल आएका छन् । ‘टोली संसारमा मसला बालीको व्यवसाय प्रवर्द्धन गर्ने समूह हो । उनीहरूले नेपालका ३ वटा मसला बालीलाई प्रवर्द्धन गर्न खोजेका छन्,’ उनले भने । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना (अलैंची जोन) कार्यालयका अनुसार लमजुङमा १ हजार २ सय हेक्टर बढी क्षेत्रफलमा अलैंची खेती गरिएको छ । ७३५ हेक्टर क्षेत्रफलमा अलैंची उत्पादन हुँदै आएको अलैंची जोन प्रमुख ईश्वरीप्रसाद नेउपानेले बताए । कार्यालयका अनुसार गएको वर्ष ७ सय ५० क्विन्टल अलैंची उत्पादन भएको थियो ।

अर्थ वाणिज्य

टीभीएस सुपर एक्सचेन्ज

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपालका लागि टीभीएस टु ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस एक्सेन्ज एन्ड फाइनान्स फेयर’ शुक्रबारदेखि सुरु गरेको छ । कात्तिक १ गतेदेखि ५ गतेसम्म काठमाडौं, भृकुटीमण्डपमा सञ्चालन हुने मेलामा ग्राहकले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्सचेन्जमा थप १० हजार रुपैयाँ अफर प्राप्त गर्न सक्नेछन् ।

Page 13
अर्थ वाणिज्य

पर्यटक लोभ्याउँदै लिमी

समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा अवस्थित लिमी उपत्यकामा एक हजार वर्ष पुरानो हल्जी गुम्बा रहेको छ
लिमी उपत्यका नियाल्दै एक पर्यटक । तस्बिर सौजन्य ः भरतबन्धु थापा

(हुम्ला) - मी पुग्न कम्ती गाह्रो छैन । समुद्री सतहदेखि करिब ५ हजार मिटर उचाइको लेक नाघ्नुपर्छ । जब दुःखको पहाड चढेर लिमी पुगिन्छ, तब ती सबै दुःख–कष्ट क्षणभरमै हराउँछन् । त्यसैले त लुकेको बस्ती भनेर चिनिने लिमी उपत्यकाले पर्यटकलाई लोभ्याइरहेको छ । चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ मा पर्ने लिमी उपत्यकामा देशविदेशबाट पर्यटकहरू समूह बनाएरै पुग्ने गर्छन् । स्थानीय गिरमेत लामाका अनुसार यस वर्ष पर्यटकको ७ वटा समूहले लिमी भ्रमण गरिसकेका छन् । गत वर्ष करिब १० वटा समूहले लिमी भ्रमण गरेका उनले बताए । ‘प्रचारप्रसार हुन थालेपछि पर्यटक आउने क्रम पनि बढेको छ,’ उनले भने, ‘भौगोलिक कठिनाइ हुँदाहुँदै पनि घुम्न आउनेको कमी छैन ।’


लिमीको सौन्दर्य त छँदै छ, करिब एक हजार वर्ष पुरानो हल्जी गुम्बा पर्यटक तान्ने महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको छ । यो गुम्बा ११ औं शताब्दीमा निर्माण भएको हो । गुम्बाका अध्येतासमेत रहेका सांसद छक्कबहादुर लामाका अनुसार लिमीमा अन्य दुईवटा गुम्बा भए पनि हल्जी गुम्बाको विशेष महत्त्व छ । गुम्बा निर्माण गर्ने लामाले तिलगाउँ नजिकै गुफा बनाई तपस्यासमेत गरेका थिए । भारतको काश्मीरबाट कालिगढ झिकाएर गुम्बा निर्माण गरिएको उनले बताए ।
लिमी घुम्ने आउने पर्यटकका कारण स्थानीयसमेत दंग छन् । यसले वर्षौंसम्म लुकेर रहेको लिमीको प्रचारप्रसार हुनुका साथै हल्जी गुम्बाको महत्त्व बाहिरी दुनियाँसम्म पुगेको उनीहरूको भनाइ छ । स्थानीय काल्जाङ्मु लामाका अनुसार त्यहाँ पुग्ने पर्यटकलाई लिमी गाउँमा गठन भएको पर्यटन व्यवस्थापन समितिले बसोबासको व्यवस्था गर्छ । सामान्य टेन्टको प्रतिरात १ सय ५० रुपैयाँ र किचेनसहितको टेन्टको प्रतिरात २ सय ५० रुपैयाँ शुल्क लिने गरिएको उनले बताए । उनका अनुसार गत वर्ष टेन्टबापत करिब १३ हजार रुपैयाँ संकलन भएको थियो । यस वर्ष हालसम्म ५ हजार संकलन भएको र पर्यटक आगमन जारी रहेकाले रकम थपिने उनले बताए ।


लिमी घुम्नका लागि भदौ मध्यदेखि कात्तिकसम्म उपयुक्त समय मानिन्छ । सदरमुकाम सिमकोटबाट सुरु हुने लिमी यात्रा निकै रमाइलोसमेत हुने गर्छ । बाटोमा प्राचीन संस्कृति र सम्पदाको अवलोकन गर्न पाइनुका साथै प्राकृतिक सुन्दरता पनि हेर्न पाइने लिमी पुगेका पर्यटकहरू बताउँछन् । त्यहाँको संस्कृतिले झन् उनीहरूलाई चकित तुल्याउने गर्छ । लामा र तामाङ समुदायको बसोबास रहेको लिमीमा एउटा छोरालाई गुम्बामा पुजारीका रूपमा राख्नुपर्ने बाध्यता छ । ‘लिमीमा सरकारी कानुनभन्दा गाउँको आफ्नै नियम कानुन प्रचलनमा छन्,’ दुई वर्षअघि लिमी पुगेका पत्रकार भरतबन्धु थापाले भने, ‘यहाँ पुग्दा अर्कै दुनियाँमा पुगेको अनुभूति हुँदोरहेछ ।’
नाम्खा गाउँपालिकाले लिमी उपत्यकाको प्राकृतिक सुन्दरता र हल्जी गुम्बालगायत अन्य सम्पदाको प्रचारप्रसार तथा संरक्षणका लागि पहल थालेको छ । गत वर्षदेखि लिमीमा महोत्सव आयोजना गर्न थालिएको छ ।
आगामी वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर पर्यटकीय सम्भावनाबारे काम थालिने गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए ।

लिल छपाल लामा

अर्थ वाणिज्य

वन्यजन्तुको आकर्षण

- कान्तिपुर संवाददाता

लिमी हिउँ चितुवा र वनचौंरीको बासस्थानसमेत हो । तीन वर्षअघि वन तथा भूसंरक्षण मन्त्रालयले गरेको अध्ययनमा ५ सय ७१ वटा वनचौंरी भेटिएका थिए । अध्ययन प्रतिवेदनमा हरिण र कृष्णसार प्रजातिमा पर्ने घोवा ८ वटा भेटिएका थिए । लिमीमा पाइने ढुङढुङ (कालिकन्टे) चरा विश्वमै दुर्लभ मानिन्छ । ‘चराचुरुङ्गी र वन्यजन्तुको कारण पनि लिमी उपत्यकामा पर्यटकको आकर्षण बढेको हो,’ गिरमेतले भने, ‘वन्यजन्तुहरू बस्ती नजिकै आउँछन्, मज्जाले हेर्न सकिन्छ ।’ स्थानीय स्वयंले वन्यजन्तुको सिकारमा प्रतिबन्ध लगाएकाले वन्यजन्तुहरू बस्ती नजिकै आउजाउ गर्ने गरेका उनले बताए ।

कसरी पुग्ने ?
लिमी उपत्यका पुग्नको लागि दुईवटा बाटा छन् । सुर्खेत वा नेपालगन्जबाट हवाईजहाजमा सिमकोट पुगेर पैदल यात्रा तय गर्नुपर्छ । पहिलो मार्गअन्तर्गत सिमकोट भएर ५ हजार मिटर उचाइको न्यालु लेकको बाटो पर्छ । यो मार्गबाट लिमी पुग्न चार दिन लाग्छ । ‘यहाँबाट जाँदा थुप्रै छहरा, ताल, पोखरी हेर्न पाइन्छन्,’ दुई महिनाअघि लिमी पुगेका दैलेखका ललित रावलले भने, ‘भौगोलिक रूपमा कठिन भए पनि यात्रा निकै रमणीय हुन्छ, लिमी पुगेपछि त सबै दुःख–कष्ट बिर्सिइँदो रहेछ ।’ लिमीको लाप्चा लेकबाट कैलाश मानसरोवरसमेत हेर्न सकिने उनले बताए ।


उनका अनुसार हिल्सा भएर पनि लिमी पुग्न सकिन्छ । सिमकोटबाट हिल्सा र त्यहाँबाट दुई दिन पैदल हिँडेपछि लिमी उपत्यका पुग्न सकिने उनले बताए । समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा अवस्थित लिमी उपत्यकामा तीनवटा गाउँ छन्– हल्जी, जाङ र तिल । न्यालु लेकबाट जाँदा जाङगाउँ र हिल्साबाट जाँदा तिलगाउँ प्रवेशद्वारका रूपमा पुगिन्छ । लिमी पुग्ने पर्यटकले त्यहाँको रैथाने परिकार चाख्न पाउँछन् । फापरको रोटी, जौंको सातु र चौंरीको दूधबाट बनेको घिउ तथा भोटे चियाले पर्यटकलाई नयाँ स्वाद दिने स्थानीय काल्जाङ्मु लामाले बताए ।

अर्थ वाणिज्य

गोदावरी फूल प्रदर्शनी सुरु

- कान्तिपुर संवाददाता
ललितपुरको जावलाखेल खेल मैदानमा १३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा अवलोकन गरी फूलहरू किन्दै सहभागी । तस्बिर ः बिजु महर्जन/कान्तिपुर

काठमाडौं (कास)– फ्लोरिकल्चर एसोसिएसनले आयोजना गरेको ‘१३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०७६’ शुक्रबारदेखि सुरु भएको छ । ललितपुर जावलाखेलको खेल मैदानमा भइरहेको प्रतियोगितात्मक प्रदर्शनी चार दिनसम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले गरेका थिए । नेपालमा पुष्प व्यवसायको सन्दर्भमा फूलको व्यावसायिक खेती फस्टाउँदो रहे पनि यस क्षेत्रको विकास गर्न बाँकी रहेको उनले बताए ।
‘पुष्प व्यवसायका लागि चाहिने विभिन्न जाति तथा प्रजातिहरूका बिरुवाहरूको आधुनिक र वैज्ञानिक रूपमा खेती गर्न आवश्यक रहेको छ,’ उनले उद्घाटन समारोहमा भने, ‘आयातको मात्रालाई न्यून गर्न र निर्यातलाई प्रवर्द्धन गर्नेबारे राष्ट्रिय नीतिमा समावेश हुन आवश्यक रहेको छ ।’ मेलाहरूको आयोजना गर्दा कसरी गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँचको विस्तारको सन्दर्भमा कस्तो खालको योजना बनाउने विषयमा उनले आफ्नो धारणा व्यक्त गरेका थिए । पुष्प व्यवसायको क्षेत्रलाई अहिलेसम्म निजी क्षेत्रले नै अगाडि बढाइरहेको यसमा फूलको जातीय विकास कसरी गर्ने र कस्ता वैज्ञानिक संरचना चाहिन्छन् भन्ने विषयमा संघले सघाउन सक्ने उनले बताए । ‘यसबारे संघले प्रतिवेदन तयार गरी आर्थिक हिसाबले यी कार्यक्रमहरूमा कस्तो सहयोग चाहिन्छ, कसरी अगाडि बढाउँदा ठीक हुन्छ, त्यसका लागि तत्कालै सोच्नेछौं,’ उनले भने, ‘यसको बजेटका लागि त्यति ठूलो समस्या छैन, त्यसका लागि केही नीतिगत बाधा छन् भने हटाउन सकिन्छ ।’

अर्थ वाणिज्य

नेपाल र भारतको चेम्बरबीच सहकार्य

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– आगामी फागुनमा हुने चेम्बर एक्स्पोमा नेपाल र भारतको चेम्बर अफ कमर्सबीच सहकार्य हुने भएको छ । एक्स्पोको जानकारी र व्यापारका विषयमा छलफल गर्न भारत पुगेको नेपाल चेम्बर अफ कमर्स र भारतस्थित पीएचडी चेम्बर अफ कमर्सबीच सहकार्यको समझदारी भएको हो । नयाँ दिल्लीस्थित पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशको व्यापार तथा लगानी अभिवृद्धिसम्बन्धी छलफल गरे । पारवहन ढुवानी लागत घटाउनुपर्ने, सीमावर्ती क्षेत्रका चेम्बरहरूबीच सहकार्य गराउनुपर्ने, व्यापार मेला तथा प्रदर्शनीमा सहभागिता जनाउनुपर्ने र चेम्बरले आउँदो फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा भारतीय उद्योगी व्यवासायीको सहभागिता जनाउन अनुरोध गरे ।
पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष डीके अग्रवालले भारतको नेपालसँग परापूर्व कालदेखि सांस्कृतिक, आर्थिक एवं व्यापारिक सम्बन्ध रहेको र दुई चेम्बरबीच सहकार्य गरी यो सम्बन्ध अझ बढी मजबुत गर्न लगानी, पर्यटन व्यापारमा जोड दिन आफू र आफ्नो संस्था इन्डिया नेपाल सेन्टरमार्फत र द्विपक्षीय रूपमा तयार रहेको बताए ।

अर्थ वाणिज्य

सिभिलको नयाँ शाखा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सिभिल बैंकले काठमाडौं, काँडाघारी (पेप्सीकोला) मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । एक समारोहका बीच बैंकका सञ्चालक प्रतापजंग पाण्डे र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका थिए । बैंकका ग्राहकलाई ध्यानमा राखी बचत परिचालनका योजना ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमूलक क्षेत्रको लगानीमा जोड दिन बैंकको नयाँ शाखाले सहयोग गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

एभरेस्ट २५ औं वर्षमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एभरेस्ट बैंकले लाजिम्पाटस्थित आफ्नो प्रधान कार्यालयमा नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमको आयोजना गरेको छ । बैंकको २५ औं स्थापना दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Page 14
समाचार

एमबीबीएस र बीडीएसको शुल्क वृद्धि

चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि एमबीबीएसमा करिब २ लाख र बीडीएसमा १ लाख शुल्क बढाएको हो
- सुदीप कैनी

(काठमाडौं) - चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनको शुल्क वृद्धि गरेको छ । राष्ट्र बैंकको मुद्रास्फीति दरका आधारमा नयाँ शुल्क कायम भएको हो । मन्त्रिपरिषद्ले गत वर्ष शुल्क निर्धारण गर्दा नै आउँदो वर्ष (०७६ साल) मुद्रास्फीतिका आधारमा शुल्क तोक्ने निर्णय गरेको थियो ।
आयोगको बिहीबारको बैठकले शैक्षिक सत्र २०७६/७७ का लागि एमबीबीएस र बीडीएसको शिक्षण शुल्क तोकेको हो । विदेशी विद्यार्थी र चिकित्साशास्त्रका अन्य विषयको शुल्क तोक्न सम्बन्धित विश्वविद्यालय र प्रतिष्ठानलाई अनुमति दिइएको उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए । आयोगले आगामी शैक्षिक सत्रका लागि एमबीबीएसमा करिब २ लाख र बीडीएसमा १ लाख शुल्क वृद्धि गरेको छ । निर्धारित नयाँ शुल्कअनुसार उपत्यकाभित्र एमबीबीएस अध्ययन गर्न ४० लाख २३ हजार २ सय ५० रुपैयाँ र बाहिरका मेडिकल कलेजमा ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क लाग्नेछ । यसअघि उपत्यकाभित्र एमबीबीएस ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार लाग्थ्यो । मेडिकल कलेजहरूले भने सरकारले तोकेको शुल्कले खर्च अपुग हुने भन्दै कम्तीमा ४८ लाखसम्म असुल्दै आएका थिए ।
आयोगले बीडीएस पढ्न २० लाख १९ हजार ५ सय ८० रुपैयाँ शुल्क कायम गरेको छ । यसअघि बीडीएसको शिक्षण शुल्क १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ थियो । ‘आयोगले एमबीबीएस र बीडीएसको शुल्क तोक्यो,’ गिरीले भने, ‘मेडिकल शिक्षाका अन्य विषयको शुल्क तोक्न विश्वविद्यालयलाई निर्देशन दिने निर्णय भयो ।’ विश्वविद्यालयहरूले शुल्क तोकेर आयोगलाई अनिवार्य रूपमा जानकारी गराउनुपर्ने उनले बताए । राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा १८ को शिक्षण शुल्क तोक्ने व्यवस्थाअनुसार नयाँ शुल्क निर्धारण गरिएको आयोगले जनाएको छ ।
त्यस्तै आयोगले ऐनको प्रावधानअनुसार किस्ता प्रणालीमा शुल्क लिनसमेत सचेत गराएको छ । विद्यार्थीबाट लिइने एक तिहाइ रकम पहिलो वर्ष र बाँकी रकम वार्षिक रूपमा किस्ताबन्दीमा बुझाउनु पर्नेछ । पहिलो वर्षको शुल्क सम्बन्धित विश्वविद्यालयमार्फत बुझाउन आग्रह गरिएको छ । निजी मेडिकल कलेजले अघिल्ला शैक्षिक सत्रमा सरकारले तोकेभन्दा बढी रकम लिने गरेको र किस्ता प्रणालीसमेत उल्लंघन गर्दै आएको विभिन्न निकायको छानबिन क्रममा भेटिएको थियो । किस्ता प्रणालीअनुसार काठमाडौं उपत्यकाभित्र पहिलो किस्तामा विद्यार्थीले १३ लाख ४१ हजार ८५ र बाहिर १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ बुझाउनुपर्नेछ । बीडीएसतर्फ ६ लाख ७३ हजार १ सय ९४ रुपैयाँ विश्वविद्यालयमा बुझाए पुग्छ । २०७७ सालको शुल्क र सिट निर्धारणका लागि विज्ञ सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरेको गिरीले जनाए । निजी मेडिकल कलेज सञ्चालकहरूले शुल्क र सिट वृद्धिका लागि दबाब दिँदै आएका थिए । आयोगले भने राष्ट्र बैंकको २०७५ को मुद्रास्फीति ४ दशमलव ५ प्रतिशत रहेकाले सोही आधारमा शुल्क कायम गरिएको जनाएको छ । तोकिएभन्दा बढी शुल्क नलिन र नतिर्न विश्वविद्यालय, मेडिकल कलेज, विद्यार्थी र अभिभावकलाई आयोगले आग्रह गरेको छ । कलेजहरूले विभिन्न नाममा बढी रकम लिन थालेपछि आयोगले अध्ययन अवधिभर विद्यार्थीबाट लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम, परीक्षा शुल्कलाई शिक्षण शुल्क भनी परिभाषित गरेको छ ।
कलेजहरूले अघिल्लो शैक्षिक सत्रमा सरकारले तोकेको एकमुष्ट शुल्कबाहेक भर्ना, ल्याब, पुस्तकालय, सामुदायिक तालिम, परीक्षा, रजिस्ट्रेसनका नाममा बढी रकम लिँदै आएका थिए ।

समाचार

चन्द समूहका २१ नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा चलाइँदै

बरामद हतियार तथा विस्फोटक पदार्थ सार्वजनिक
- कान्तिपुर संवाददाता

(दाङ) - प्र्रहरीले बिहीबार राति बैठकस्थल घेरा हालेर पक्राउ गरेका नेत्रविक्रम चन्द समूहका नेताबाट बरामद हतियार तथा विस्फोटक पदार्थ शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ परेकाहरूलाई भने सार्वजनिक गरिएको छैन । उनीहरूविरुद्ध संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राजपुर–४ मुङग्रेठाका ज्ञानेन्द्रविक्रम रानाको घरमा बसिरहेका बेला बिहीबार मध्यरात बैठकस्थल नियन्त्रणमा लिएर प्रहरीले २१ जना पक्राउ गरेको थियो । उनीहरूका साथबाट ‘मेड इन यूएसए’ लेखिएका दुई पेस्तोल, चार कटुवा पेस्तोल, थ्रीनटथ्री राइफलको ५ वटा गोली, एक सुतली बम र ३ लाख ८४ हजार ५ सय ३० रुपयाँ नगद बरामद भएको डीएसपी विनोदविक्रम शाहले बताए । २४ वटा मोबाइल सेट, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनीतिक प्रस्ताव, नेकपाको परिपत्र, प्रेस विज्ञप्ति, आर्थिक सहयोगका ३० चिठी, नेकपाको एउटा छाप, राजनीतिक दर्शनका १३ किताब, १६ डायरी र २१ झोला पनि बरामद भएको छ । यस्तै दीपराज सेपाइली र तिलकबहादुर गुरूङको नाममा रहेको ग्लोबल आईएमई बैंकका ४ वटा चेक पनि बरामद भएको छ । पक्राउ पर्नेमा नेकपा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज शिवराज–८ कपिलवस्तुका ५९ वर्षीय चन्द्रबहादुर चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज माडी–५ भाबाङका ५४ वर्षीय केशबहादुर बाँठा र केन्द्रीय सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष तुलसीपुर–५ दाङका ३१ वर्षीय वविन केसी भनिने दीपराज सेर्पाली छन् । मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द नेकपा महासचिव नेत्रविक्रम चन्दका जेठा दाजु हुन् । उनी विगतको माओवादी विद्रोहमा पनि सहभागी थिए । यसैगरी राप्ती ब्युरो सदस्य तथा बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष तुलसीपुर–१९ बिजौरीका ६५ वर्षीय रामबहादुर थापा, दाङ जिल्ला इन्चार्ज राप्ती–५ का ४६ वर्षीय यमलाल कटुवाल र सेक्रेटरी तुलसीपुर–८ का ३९ वर्षीय प्रदीपबहादुर वली पक्राउ परेका छन् । यस्तै सल्यान जिल्ला इन्चार्ज कुमाख–६ बडगाउँका ५२ वर्षीय रमेश आचार्य भनिने डिल्लीराज शर्मा, पश्चिम रुकुम जिल्ला सेक्रेटरी आठबिसकोट–८ पहाडका २८ वर्षीय जित क्षेत्री भनिने चन्द्रबहादुर बुढा र रोल्पाको रुन्टीगढी, दाङको बंगलाचुली, प्यूठानको सरुमारानी र सल्यानको कपुरकोट इन्चार्जसमेत रहेका सुनछहारी–१ घुसबाङ रोल्पाका ३३ वर्षीय पुस्तमान घर्ती र रोल्पा–२ लिबाङका ५८ वर्षीय दलबहादुर खत्री पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमै राप्ती कार्यालय सचिव घोराही–१६ का ३९ वर्षीय सविन पोखरेल भनिने बालकृष्ण शर्मा, रोल्पाको थबाङ स्वायत्त क्षेत्र सेक्रेटरी थबाङ–१ का ३५ वर्षीय अमित घर्ती, थबाङ स्वायत्त क्षेत्र इन्चार्ज थबाङ–१ का ४३ वर्षीय हितप्रसाद रोका र अखिल नेपाल किसान संघका दाङ जिल्ला अध्यक्ष लमही–३ टिकुलीगढका ४३ वर्षीय एकराज चौधरी छन् । यस्तै दलित मुक्ति मोर्चाका दाङ जिल्ला अध्यक्ष राप्ती–१ भालुबाङका ३३ वर्षीय सुरज परियार, युवा संगठनका केन्द्रीय सदस्य घोराही–१७ का ३९ वर्षीय तिलक पुन, दाङको राजपुर गाउँपालिका इन्चार्ज आठबिसकोट–२ पश्चिम रुकुमका ३७ वर्षीय धनबहादुर बोहरा तथा पार्टी सदस्यहरू बाणगंगा–८ कपिलवस्तुका ३१ वर्षीय विष्णुबहादुर रावत, तुलसीपुर–१५ हरिपौरा दाङका ३४ वर्षीय कुलबहादुर वली र शान्तिनगर–२ सिमसुन्दरपुर दाङका ४९ वर्षीय इन्द्रबहादुर वली पनि छन् । मंसिरमा हुने उपनिर्वाचनलाई बिथोल्ने योजना लक्षित बैठक विकट जंगलको बस्तीमा गरेको सूचना पाएको प्रहरीको भनाइ छ ।

समाचार

सेनालाई चीनको साढे दुई अर्ब सहयोग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– चीन सरकारले नेपाली सेनालाई सैन्य सामग्री खरिद गर्न करिब २ अर्ब ५० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । सैन्य सहयोगको यो सम्झौतामा नेपालका तर्फबाट चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हस्ताक्षर गर्ने रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनुवारले जानकारी दिए ।


सम्झौतामा हस्ताक्षरका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिइसकेको छ । सैन्य सामग्री खरिदका लागि बेइजिङमा सम्झौता हुनेछ । चीन सरकारले गत वर्ष नेपाली सेनालाई करिब १ अर्ब ५० करोड रुपैयाँ सैन्य सामग्री खरिद गर्न अनुदान दिएको थियो ।


सेनाको स्टाफ कलेजद्वारा सम्मान
नेपाली सेनाको ‘आर्मी कमान्ड एन्ड स्टाफ कलेज’ ले शुक्रबार कलेजमा पढेका प्रधानसेनापति पूर्णचन्द्र थापासहित सशस्त्र प्रहरी बलका महानिरीक्षक सैलेन्द्र खनाल र पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठलाई ‘हल अफ फ्रेम’ आयोजना गर्दै सम्मान गरेको छ । कलेजले सम्मानस्वरूप तीनै व्यक्तिको तस्बिरलाई ‘हल अफ फ्रेम’ कोठाको व्यवस्था गर्दै राखेको छ । कलेजका प्रमुख तथा उपरथी ईश्वर हमालले तीनै जनालाई सम्मान गरे । उक्त कलेजमा हालसम्म ९ सय ७२ जना नेपाल र विदेशी सैनिक तथा अन्य व्यक्तिहरूले अध्ययन गरेका छन् । जसमा ७३ जना अन्तर्राष्ट्रिय विद्यार्थी छन् ।

Page 15
खेलकुद

नेपालको मिश्रित नतिजा

- कान्तिपुर संवाददाता
प्रतिस्पर्धामा भारत श्रीलंकाका खेलाडी ।

 

काठमाडौं (कास)– पहिलो दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले पाकिस्तानलाई ३८–१३ स्कोरले पराजित गर्‍यो । नेपालको जितमा वुमन अफ दी म्याचसमेत बनेकी ओजस्वी निरौलाले १३ अंक बटुलिन् । अर्को खेलमा नेपालले माल्दिभ्ससँग पराजय बेहोर्‍यो । निकै प्रतिस्पर्धातमक खेलमा माल्दिभ्सले नेपाललाई ३५–२७ ले रोक्यो । माल्दिभ्सकी आमिनाथ आनी वुमन अफ दी म्याच घोषित भइन् ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा शुक्रबार अर्को खेलमा भारतले मिश्रित नतिजा निकाल्यो । पहिलो खेलमा माल्दिभ्सलाई ४१–२१ अंकले पराजित गरेको भारत दोस्रो खेलमा श्रीलंकासँग ४०–२४ ले पराजित भयो । पहिलो खेलमा भारतलाई विजयी बनाउन अन्ली कुमारीले २४ स्कोर जोडेकी थिइन् । श्रीलंकाको जितमा हिरोनी हिसानीले २५ स्कोर गरिन् ।
नेपालमा पहिलो पटक आयोजना भएको च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाएका छन् । महिला सशक्तीकरणका क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले च्याम्पियनसिप आयोजना गरिएको नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतले जानकारी दिए । च्याम्पियनसिप कात्तिक ५ सम्म चल्नेछ ।

खेलकुद

खेलाडीका लागि मनोवैज्ञानिक कार्यक्रम

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल ओलम्पिक कमिटीको आयोजनामा नेसनल कन्फरेन्स अन एक्ससइज, स्पोर्ट्स एन्ड फर्फमेन्स साइकोलाजी कार्यक्रम शुक्रबार सुरु भएको छ । मनोवैज्ञानिक रूपमा जितको आधार बनाउने उद्देश्यले १३ औं दक्षिण एसियाली खेलकुदलक्षित गरेर कार्यक्रम आयोजना गरिएको हो । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कार्यक्रमको उद्घाटन गर्दै १३ औं साग हुँदैन भन्ने कुरा दिमागबाट हटाइदिन आग्रह गरे । उनले खेलाडीलाई मनोवैज्ञानिक रूपमा तयार पारिनुपर्ने बताए । दुईदिने कार्यक्रम सातदोबाटोस्थित ओलम्पिक मुख्यालयमा भएको हो । कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा टिम म्यानेजरसहित १ सय भन्दा बढीको सहभागिता छ ।


राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले १३ औं सागका लागि भौतिक पूर्वाधारदेखि मनोवैज्ञानिक रूपमा खेलाडीलाई समेत तयार गरिरहेको बताए । उनले खेलाडीलाई पर्याप्त प्रशिक्षणको व्यवस्था भएको समेत बताए । नेपाल जस्तो देशले लामो समय बन्द प्रशिक्षणमा राख्नु गर्वको विषय भएको सुनाए । कार्यक्रमलाई एसिया साउथ प्यासिफिक एसोसिएसन फर स्पोर्टस साइकोलोजी, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी भिजिनरी इन्टरनेसनलले सहयोग गरेका थिए । कार्यक्रममा एएसपीएएसपीका राष्ट्रिय प्रतिनिधि इन्द्र गुरुङ, एसिया प्यासिफिक एसोसिएसन फर स्पोर्ट्स साइकोलोजीका अध्यक्ष डा. योङ हो किम, ताइवानका फ्याङ जिन, जापानका काओरी एराकी, थाइल्यान्डका नारुइपोभ भागिएटुरापात, राजेश्वरी श्रेष्ठ, विनिता अधिकारी, प्रो. रामकृष्ण महर्जनले सहजीकरण गरेका थिए ।ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तेज गुरुङ र सुनील श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

खेलकुद

केदारस्यूँले जित्यो शीलदेवी कप

- वसन्तप्रताप सिंह

(बझाङ) - जिल्लाको सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता केदारस्यूँ गाउँपालिकाले जितेको छ । १ लाख १ सय नगद पुरस्कारको शीलदेवी कप नेपाली सेनाको टिम संग्राम सार्दुल गुल्मलाई हराउँदै केदारस्यूँले जितेको हो । शुक्रबार बिहान फाइनलमा केदारस्यूँले सोझो सेटमा जित पायो । सेनाको टिमले ७० हजार १ सय रुपैयाँ पायो । सुर्मा गाउँपालिकाको टिमलाई ३–१ सेटले पराजित गर्दै मस्टा गाउँपालिकाले तेस्रो स्थान हासिल गर्‍यो । तेस्रोले ५० हजार १ सय रुपैयाँ पुरस्कार पायो ।
महिलातर्फ जयपृथ्वी नगरपालिकालाई ३–० ले हराउँदै छ बीस पाथीभराले उपाधि जित्यो । विजेताले ५० हजार र उपविजेताले ३० हजार पुरस्कार पुरस्कार पाए । थलारा गाउँपालिकाकालाई १–३ सेटले हराएर बित्थड चिर गाउँपालिकाले तेस्रो स्थानसहित ३० हजार जित्यो । शीलदेवी कप भलिबलमा पुरुषतर्फ स्थानीय तहका १२ र नेपाली सेनाको एक टिमले प्रतिश्पर्धा गरेका थिए । महिलातर्फ ६ टिम प्रतिस्पर्धी बनेका थिए । जिल्लाकै ठूलो राशिको भलिबल प्रतियोगिता हेर्न जिल्लाका विभिन्न स्थानबाट दर्शकको घुँइचो लागेको थियो । जयपृथ्वी नगरपालिकाले प्रायोजन गरेको प्रतियोगिता नयाँ बसपार्कस्थित कोर्टमा थियो । भलिबल बझाङमा सबैभन्दा बढी रुचाइने खेल हो । बझाङका विशाल बिक र ज्ञानेन्द्र मल्लले नेपाल प्रहरी र हेमन्त मल्लले एपीएफमा अनुबन्धित भएर विभिन्न अर्न्तराष्ट्रिय प्रतियोगिता खेलिरहेका छन ।

खेलकुद

ट्राफोर्डमा लिभरपुलको दाउ

- एएफपी

(लन्डन) - लिभरपुलले ओल्ड ट्राफोर्डमा पाँच वर्षयता पहिलो जित रच्न सके आइतबार म्यानचेस्टर युनाइटेडको घाउमा नुन थप्नेछ । म्यानचेस्टर सिटीले भने क्रिस्टल प्यालेसमा जित हात पार्दै अगाडि फर्कने प्रयास गर्नेछ ।
नयाँ सिजनको आठ खेलमात्रै सकिँदा शीर्षस्थानको लिभरपुलसँग १२ औं स्थानमा रहेको युनाइटेडको १५ अंक अन्तर भइसकेको छ । युरोपेली च्याम्पियनले सबैभन्दा नजिकको प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीभन्दा ८ अंकले अगाडि छ । त्यसका लागि लिभरपुलले गएको सिजनसँगै प्रिमियर लिगमा लगातार १७ खेल जितेको छ । यसको तुलनामा युनाइटेडले लिगका पछिल्ला १३ खेलमा दुई खेलमात्रै जितेको छ ।
‘रेड डेभिल्स’ को सुरुआती सिजनलाई चोटको समस्याले पनि संघर्ष गर्न थप कठिन बनाइदियो । उसले प्रभावशाली दुई खेलाडी पाउल पोग्बा र डेविड डी हेयाबिना लिभरपुल खेल्दै छ । जे जस्तो भए पनि ओले गनर सोल्सायरले आफ्ना खेलाडीलाई इंग्लिस फुटबल इतिहासको सबैभन्दा बढी सफल दुई टिमबीचको प्रतिस्पर्धाको अवसरमा चम्कन आग्रह गरेका छन् ।
‘म सधैं अर्को खेललाई अवसरका रूपमा हेर्ने गर्छु । लिभरपुलसँगको खेल अर्कोतर्फ अगाडि बढ्नका लागि ठूलो अवसर हो,’ युनाइटेडको व्यवस्थापक सोल्सायरले भने, ‘उत्कृष्ट परिस्थितिमा मेरो यस्तो स्वभाव हुने गर्छ । मलाई थाह छ कि समर्थक र खेलाडी यसका लागि अघि बढेका छन् । हामीलाई माथिल्लो तहमा बढ्न आवश्यक छ र यो युनाइटेडको ठूलो खेल हो, यसमा आफ्नो क्षमता देखाउनुपर्छ ।’
योर्गन क्लोपले एनफिल्डमा आफ्नो चौथो वार्षिकोत्सव यो साताको सुरुमै मनाए । तर, यी जर्मनको सबै उपलब्धि लिभरपुलको भाग्य परिवर्तन गर्नुमै रह्यो । ओल्ड ट्राफोर्डमा हालसम्म जित हासिल गर्न सकेका छैनन् । लिभरपुलले पछिल्ला ६ यात्रामा ओल्ड ट्राफोर्डमा कुनै पनि खेल जितेको छैन । ऐतिहासिक प्रतिद्वन्द्वितामा त्यो लय गणना नहुने लेफ्ट ब्याक एन्डी रोबर्टसन बताउँछन् ।
‘यस्तो खेलमा आफ्नो लयले अर्थ राख्छ भन्ने मलाई लाग्दैन । हामीले फर्किंदा ८ खेल जितेको र उसले (म्यानचेस्टर युनाइटेड) संघर्ष गरिरहेको कुराले असर गर्दैन । यो म्यानचेस्टर युनाइटेडविरुद्ध लिभरपुल हो,’ स्कल्यान्डका कप्तानले भने, ‘यो विशेष रूपमै फरक माहोलमा हुनेछ, जब युनाइटेडविरुद्ध खेल्नुपर्छ ।’
युनाइटेडको भाग्यसँग दाँजेर हेर्ने हो भने लिभरपुललाई खेलाडी चोटमुक्त भएको अवसर छ । जोएल माटिप सेन्टर–ब्याकमा फर्किएका छन् । तर, मोहम्मद सलाह भने ‘इन्टरनेसनल ब्रेक’ अघि लेस्टरविरुद्ध २–१ को जितमा एङ्कलमा चोट बोकेकाले खेल्नेमा अझै शंका छ ।
वोल्भ्ससँग २–० ले स्तब्ध भएपछि म्यानचेस्टर सिटी पनि लिभरपुललाई दबाब दिनका लागि शनिबार क्रिस्टल प्यालेसविरुद्ध जितको लयमा फर्कनुपर्ने अवस्थामा छ । डिफेन्डिङ च्याम्पियनले केभिन डी ब्रुयनलाई दुई साता गुमाएको थियो । यसबीचमा सिटीले उनलाई खुबै ‘मिस’ गर्‍यो । यी बेल्जियन ‘ग्रोइन इन्ज्युरी’ बाट फर्कन सक्छन् । उनको टिम सेल्हर्ट पार्कमा यो सिजन जित हात पार्ने पहिलो टिम बन्ने अभियानमा छ ।
डी ब्रुयन खेल्दा सिटीले यसपल्ट प्रिमियर लिगका ६ खेलमा २५ गोल गर्‍यो । तर, उनी नरहेका दुई खेलमा सिटी पराजित भयो । प्यालेसले प्रि–सिजनको अनुमानलाई अनिश्चित बनाउँदै चौथो स्थानमा रहेको लेस्टर र चेल्सीसँगै समान १४ अंक जोडेको छ ।
टोटेनहमले वाटफोर्डलाई स्वागत गर्दै छ । ब्राइटनमा ३–० र च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ७–२ को पीडादायी हार बेहोरेको टोटेनहमलाई ‘इन्टरनेसनल ब्रेक’ पछि सही अवस्थामा फर्कने राम्रो समय हुनसक्छ । स्पर्सले सबै किसिमको प्रतियोगितामा यो सिजनका ११ खेलमा तीन खेलमात्रै जितेको छ । तर, वाटफोर्डको भ्रमणले यो सप्ताहन्तमा माउरिसियो पोचेटिनोको टिमलाई राहत दिनसक्छ । ‘द हर्नेस्ट’ हालसम्म यो सिजनको लिगमा जितविहीन रहेको एक्लो टिम हो । सुरुका ८ खेलमा २० गोल बेहोरेको यो टिम अंकतालिकाको पुछारमा छ ।
‘हामीले फेरि आफैंलाई विश्वास गर्न थाल्नुपर्ने आवश्यकता छ । हामीसँग टिममा स्तर छ र सबै कुराका लागि चुनौती दिनसक्छौं,’ पोचेटिनोले भने, ‘हामी अझै त्यहाँ छौं । हामीसँग च्याम्पियन्स लिगमा गत सिजनभन्दा १ अंक बढी छ र लिगमा शीर्ष चारसँग तीन अंक नजिक छौं ।’

खेलकुद

वुहानमा विश्व सैन्य खेलकुद

- लक्ष्मी लम्साल

(बेइजिङ) - चीनको हुपै प्रान्तस्थित वुहानमा शुक्रबारदेखि विश्व सैन्य खेलकुद प्रतियोगिता सुरू भएको छ । सातौं संस्करणमा प्रतियोगिता चलिरहँदा नेपालले पहिलो पटक भाग लिएको छ ।
उद्घाटन समारोहमा नेपालका ४७ खेलाडीसहित ६९ जनाको टोली सहभागी भएको थियो । नेपालले ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, आर्चरीलगायत भाग लिनेछ । राति ८ बजे सुरु भएको उद्घाटन समारोहको चीनका अधिकांश संचारमाध्यमले निकै महत्त्वसाथ प्रत्यक्ष प्रसारण गरेका थिए ।
विगतभन्दा पहिलो पटक यति ठूलो सैन्य खेलकुद प्रतियोगिता वुहान सहरका ३५ खेलस्थलमा हुँदै छ, जुन गत मेमा पूर्ण निर्माण सम्पन्न भएको थियो । विश्वका १ सयभन्दा बढी मुलुकका साढे १० हजार खेलाडी यति खेर वुहानमा प्रतिस्पर्धा बनेका छन् । विश्व सैन्य खेलकुदमा २७ खेल खेलमा प्रतिस्पर्धा हुनेछ । खेलकुदको माध्यमबाट विश्व शान्ति स्थापनाको अवधारणासाथ अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदले यो खेलकुद आयोजना गरेको हो ।
उद्घाटनमा नेपालबाट रक्षामन्त्री ईश्वर पोखरेल सहभागी भए । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुभकामना सन्देश पठाएका थिए ।

खेलकुद

पुलिसको जितमा सुमनको ह्याट्रिक

- कान्तिपुर संवाददाता

चितवन (कास)– सुमन लामाको हयाट्रिकसँगै नेपाल पुलिस क्लबले शुक्रबार नारायणगढ क्याम्पाचौरमा टुबोर्ग जेसिज विकास रनिङ सिल्ड राष्ट्रिय फुटबलअन्तर्गत सरस्वती क्लब काठमाडौंविरुद्ध ५–० को जित निकालेको छ ।
खेल सुरु हुनासाथ गोल अग्रता लिएको पुलिस हाबी भएको थियो । सुमनले पहिलो मिनेटमै गोल गरे । त्यसपछि २४ औं मिनेटमा नीरकुमार राईले गोल थपे । मध्यान्तरपछि पनि प्रहरीको दबदबा कायम रह्यो । हेम तामाङले गोल गरे । यो गोलमा पनि सुमनको भूमिका रह्यो । उनैको पासमा हेमले पोस्ट नजिकबाट गोल गर्दै पुलिसलाई ३–० को अग्रतामा दिलाए । त्यसपछि सुमनले ३३ र ३९ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे । सुमन प्लेयर अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
सरस्वतीले विपक्षीमा पोस्टतर्फ प्रहार गर्ने राम्रा अवसर निकै कम पाएको थियो । मध्यान्तरपछि १७ औं मिनेटमा रमेश घिसिङले गरेको फ्रिकिक पुलिसका गोलरक्षक सुदर्शन चौधरीले जोगाए । यो बाहेक सरस्वतीले पाएका एकाध राम्रा अवसर गोलमा परीणत भएन । विकास सिल्ड समितिले नारायणगढमा २०३१ सालदेखि आयोजना गर्नै आएको ‘विकास रनिङ सिल्ड’ फुटबल यसपालि नेपाल जेसिज नारायणगढ शाखाले गरेको छ । विजेताले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार जित्नेछ । शनिबार एपीएफ क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ ।

खेलकुद

शंकरको गतिलो प्रदर्शन

- कान्तिपुर संवाददाता

(रूपन्देही) - सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग क्रिकेटमा शुक्रबार रेन्बो ज्ञानोदय गोल्डेन्स विजयी भएको छ । योसहित ३ खेल जितेको ज्ञानोदय सेमिफाइनलमा दाबेदार टिम बनेको छ । ज्ञानोदयले बुटवल युनाइटेडलाई ४७ रनले हराएको हो । पहिले ब्याटिङ गरेको रेन्बोले ५ विकेट गुमाई १ सय ४४ रन बनायो । अन्तिम बल टिकेका ओपनर शंकर रानाले ७ चौका र ४ छक्का प्रहार गरी ७८ रन बनाए । राहुल प्रजापतीको अन्तिम बलमा आउट भएका शंकरलाई सुनील धमलाले गतिलो साथ दिए । सुनीलले ३७ बलमा ४१ रन जोडे । सिद्धान्तराज शाहीले १२ रन बनाए । बुटवल युनाइटेडका राहुल प्रजापती र कप्तान सुसन भारीले २–२ विकेट लिएका थिए । १ सय ४५ रनको लक्ष्यमा पाएको बुटवल युनाइटेड १४.३ ओभरमा समेटिँदा ९७ रन खातामा थियो । ज्ञानोदयका प्रतिश जिसीले २६ रन खर्चेर ३ विकेट लिए । जितेन्द्र सहनी, दिवन पुन र कमल ओलीले २–२ विकेट लिए । ज्ञानोदयका शंकर राना म्यान अफ द म्याच भए भने जितेन्द्र सहनीले मोस्ट भ्यालुएबल प्लेयरको पुरस्कार जिते ।
वर्षाका कारण ढिला गरी सुरु दोस्रो खेल ८ ओभरमात्र खेलाइयो । सियारी राइनोजले एक्सपर्ट रोयल शंकरनगरलाई ९ विकेटले हरायो । शंकरनगरले दिएको ४५ रनको लक्ष्य राइनोजले ५ ओभर चल्दा नै भेट्टायो । सियारीका यम क्षेत्रीले २ ओभरमा ३ विकेट लिएर म्यान अफ द म्याच भए भने विकास श्रेष्ठले ८ रन खर्चेर २ विकेट लिए । उनी मोस्ट भ्यालुएबल प्ललेयर भए ।शनिबार रूपन्देही पल्टन्स र तिनाउ टाइटन्स तथा सियारी राइनोज र सुपर ११ भैरहवा खेल्नेछन् ।

Page 16
खेलकुद

'नेपालमै भेटौंला'

घरेलु मैदानमा विश्वकप छनोट चरणका बाँकी चार खेल खेल्न सुरु गरेसँगै नेपाली प्रशिक्षक कालिनमाथि धेरै आशा हुनेछ । नेपालले क्रमिक सुधार गरिरहेको उनको दाबीले त्यतिखेर मूर्त रुप पाउनेछ ।
- विनोद पाण्डे
प्रशिक्षकद्वय जोर्डनका भिटेल र नेपालका कालिन । तस्बिर ः विनोद/कान्तिपुर

(अम्मान, जोर्डन) - जोर्डनका प्रशिक्षक भिटेल बोर्केलमान्सले खेलको अघिल्लो दिन नेपालसँग जित हात पार्न नसके आफू निकै निराश हुने बताएका थिए । जोर्डनले विश्वकप छनोटमा खासै धार समात्न सकेको थिएन । त्यसैले उनीमाथि कतिसम्मको दबाब थियो भनेर महसुस गर्न सकिन्थ्यो । जोर्डनले छनोटमा नेपालसँग ३–० ले जित हात पार्दा प्रशिक्षक बोर्केलमान्स नभएर जोर्डनको खेल सञ्चारकर्मीमा त्यो निराशा सरेको थियो । उनीहरू बोर्केलमान्सले जोर्डनी फुटबललाई उँभो लगाउन नसक्ने भनाइ दोहोर्‍याइरहेका थिए । जोर्डनका खेलकुद पत्रकारको भनाइ मान्ने हो भने नेपालसँगको खेल प्रशिक्षकको रूपमा उनको अन्तिम खेल भन्नेसम्म थियो ।


जोर्डनको ५ गोलको भिन्नताले मात्र बोर्केलमान्सलाई बचाउन सक्ने राय उनीहरू दिइरहेका थिए । तर स्थानीय सञ्चारकर्मी आफ्नो टोली विशेष गरी बेल्जियन प्रशिक्षक बोर्केलमान्समाथि विश्वास देखाउन सकिरहेका थिएनन् । उनीहरूको अनुमान जोर्डनले मुस्किलसँग ३ गोलले जित्छ भन्ने थियो । नेपाल गोल गर्नसक्ने टिम होइन भन्नेतर्फ उनीहरूको कुनै ध्यान गएको पुगेको देखिन्थ्यो । त्यस विपरीत नेपालका प्रशिक्षक योहान कालिनमाथि कुनै दबाब थिएन । कुवेतसँगको खेलमा ७–० को हारपछि उनको क्षमतामा प्रश्न नउठेको भने होइन । कुवेत त्यही टोली हो, जो सँग नेपालले फेब्रुअरीमा मैत्रीपूर्ण खेल्दा गोलरहित नतिजा निकालेको थियो । नेपालको प्रशिक्षकका रूपमा कालिनको त्यो पहिलो खेल थियो । कुवेतसँग विश्वकप छनोटमा भोगेको ७–० को हारलाई कालिनले अझै स्वाभाविक रूपमा लिन सकेका छैनन् ।
त्यसबाहेक अन्य खेलमा नेपालले क्रमिक सुधार गरिरहेको कालिनको दाबी छ । यस्तै दाबी उनको अस्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० ले पराजित खेललाई लिएर पनि छ । बोर्केलमान्सजस्तै कालिन पनि जोर्डन–नेपालको खेललाई लिएर सन्तुष्ट थिए । कालिनसँग त्यसको आधार छ । सन् २०११ मा विश्वकप छनोट खेल्न अम्मान आउँदा जोर्डनले नेपाललाई ९–० को पराजय चखाएर पठाएको थियो ।


‘यो राम्रो खेल रह्यो, हामीले आफ्नो सक्दो राम्रो गर्‍यौं । अस्ट्रेलियासँगको खेलभन्दा हाम्रो रक्षापंक्ति राम्रो भएको छ । मलाई लाग्छ हामीले पनि राम्रो अवसर पाएका थियौं,’ कालिनको प्रतिक्रिया थियो, ‘तर जोर्डन बलियो टोली हो र आफ्नै मैदानमा खेलिरहेकाले उसले त्यसको उपयोग पनि गर्‍यौं ।’
नेपालले मध्यान्तरसम्म गोलरहित बराबरी रोकेर जोर्डनलाई राम्रै चुनौती तेर्स्याएको हो । ५६ औं मिनेटमा यस्तो क्षण आयो जहाँबाट नेपाली टोली माथि उठ्न सकेन । दिनेश राजवंशीले यासिन महम्मद बखितलाई तानेर लडाएको भनी रेफ्रीले पेनाल्टी दिएको थिए । त्यही पेनाल्टीमा जोर्डनले खाता खोलेको थियो । कालिन त्यो गोलले खेलको नक्सा परिवर्तन गरिदिएको बताउँछन् । उनले त्यो पेनाल्टीलाई स्वाभाविक रूपमा लिएनन् । त्यसलाई निकै कठिन पेनाल्टी मान्दै उनले भनेका थिए, ‘म अर्को छेउमा थिएँ, त्यही भएर मैले स्पष्ट देखिनँ । तर पेनाल्टी निकै सामान्य थियो ।’
कुवेत, अस्ट्रेलिया र जोर्डनसँगको खेलमा नेपालको लगभग एकै शैली छ, जतिसक्दो हुन्छ रक्षात्मक खेल्ने । यसलाई लिएर कालिनले आलोचना पनि सुन्ने गरेका छन् । नेपालको खेल र स्तर कहिल्यै परिवर्तन भएन भनेर । अस्ट्रेलियासँग त नेपालले खासै कुनै गोल अवसर सिर्जना गर्न सकेन । चार रक्षक, पाँच मिडफिल्डर र एक्लो स्ट्राइकरको संरचना भएको नेपाली टोलीलाई आफूभन्दा निकै माथिको टोलीसँग अवसर बनाउन सजिलो छैन । जोर्डनसँग भने नेपालले केही राम्रो अवसर पाएको थियो । अनन्त तामाङ र सन्तोष तामाङले पहिलो हाफ तथा विमल घर्तीमगर र रोहित चन्दले दोस्रो हाफमा पाएको अवसर गुमाउँदा नेपाल चुक्चुकाइरहेको छ ।

जोर्डनका अहमद इस्रानको प्रहार रोक्दै नेपालका सुमन अर्याल । तस्बिर ः एएफपी


नेपाल फिफा विश्व वरीयतामा १ सय ६१ औं स्थान र जोर्डन ९६ औं स्थानमा छन् । नेपालले अहिलेसम्म वरीयताको शीर्ष सयभित्रको टोलीलाई एक गोल मात्र गर्न सकेको छ । त्यो गोल पनि त्यही जोर्डनसँग ९ गोल खाएपछिको दोस्रो लेगमा दशरथ रंगशालामा भरत खवासले गोल गरेका थिए । त्यसैले जोर्डनसँग नेपालले मौका गुमाएको अवसर निकै महँगो देखियो । गोल भाको भए कथा अर्कै हुनसक्थ्यो । विशेष गरी पहिलो हाफको अवसर र पहिलो गोल खाएसँगै विमलले गुमाएको मौकाबाट कालिनलाई अझै विस्मात छ ।
कालिनले आफू आएपछि नेपाली टोलीले क्रमशः सुधार गर्दै आएको दाबी यिनै हुन् । कुवेतसँग नेपालले फेब्रुअरीमा दुई खेल खेलेको थियो । पहिलो खेलमा गोलरहित बराबरीपछिको अर्को खेलमा कुवेतले नेपाललाई १–० ले पराजित गरेको थियो । त्यसपछि मलेसिया र चाइनिज ताइपेईसँगको मैत्रीपूर्ण खेल हुँदै नेपाल विश्वकप छनोटमा उभिएको हो । चाइनिज ताइपेईमाथि छनोटमा उसैको मैदानमा पाएको २–० को विजय विश्वकप छनोट इतिहासमा नेपालको घरेलु मैदानमा पहिलो हो ।
बोर्केलमान्सलाई भने नेपालसँग भन्दा पनि जोर्डनकै सञ्चारमाध्यम झेल्न कठिन भइरहेको थियो । नेपालसँगको खेलअघि उनी आफूलाई अहिले नै मूल्यांकन नगर्न अनुरोध गर्दै छनोटपछि जोर्डन कुन स्थानमा हुन्छ अनि आफ्नो बारेमा धारणा राख्न भनिरहेका थिए । जोर्डनले छनोट चरणको यात्रा राम्रोसँग गर्न सकेको छैन । पहिलो खेलमा चाइनिज ताइपेईलाई उसैको मैदानमा २–१ ले पराजित गरेको जोर्डन त्यसपछि आफ्नै मैदानमा कुवेतसँग गोलरहित बराबरीमा रोकिएको थियो । जोर्डनले त्यसअघि पनि सिंगापुरसँग मैत्रीपूर्ण खेलमा गोलबिहीन बराबरी खेल्नुपरेको थियो ।
जोर्डनको पछिल्ला खेलको प्रभाव नेपालसँग मैदानमा देखिएको थियो । अम्मान अन्तर्राष्ट्रिय रंगशालाका आधाभन्दा बढी सिटहरू खाली थिए । जोर्डनका युवराज आफ्ना छोरासँगै खेल हेर्न आएका थिए । रंगशालामा उपस्थित आधाजति त उनै राजपरिवारका सदस्यको सुरक्षाका लागि जस्तो देखिन्थे । जोर्डनको खेलाडीलाई केही जोश उनै राजपरिवारले दिएको थियो । दर्शकले पनि बोर्केलमान्सलाई हुटिङ गरेर अब उनको दिन सकिएको भनिरहेका थिए ।
मध्यान्तरसम्म उनी अत्यधिक तनावमा देखिन्थे । खेल अधिकांश समय जोर्डनको नियन्त्रणमा थियो । जोर्डनले अधिक अवसर पाएका पनि थिए । जति पाएका थिए, त्यसमा केही नेपालका गोलरक्षक किरण चेम्जोङले बचाउ गरे भने केही पोस्टलक्षित नै हुन सकेन । त्यसमा बोर्केलमान्सको आक्रोश पनि बढ्दै गएको थियो । पहिलो गोलसँगै उनी खुल्न सकेका थिए । त्यसपछिका दुई गोलबाट उनको अनुहार पनि खुलेको थियो ।
त्यसले जोर्डनका सञ्चारकर्मीको अनुहार भने खोल्न सकेन । उनीहरूको ‘अस्वाभाविक’ प्रश्नबाट आर्जित भएर बोर्केलमान्स कहिले माइक आफ्नो टाउकोमा ठोकिरहेका हुन्थे भने कहिले यस्ता प्रश्नले आफू र जोर्डनलाई बलियो रूपमा उभिन सजिलो भएको तर्क दिइरहेका थिए । उनका लागि खेलअघि र पछिको पत्रकार सम्मेलन बक्सिङ रिङजस्तै बनेको थियो । ‘जोर्डनले ८४ मिनेटसम्मको खेलमा ८० प्रतिशतभन्दा बढी बल आफ्नो नियन्त्रणमा राखेको छ, त्यसमा नेपालको १० खेलाडी आफ्नो पोस्टवरपर हुन्थे, त्यही पनि तपाईहरू यो प्रदर्शनबाट किन निराश हुनुहुन्छ ?,’ उनी जोर्डनका सञ्चारकर्मीलाई प्रश्न गरिरहेका हुन्थे ।

नेपाल–जोर्डनको खेल हेर्न रंगशाला पुगेका जोर्डनका राजकुमारसहित परिवारका सदस्य । तस्बिर ः एएफपी

जोर्डनमा लिग हुन नसकेको ५ महिना भइसकेको छ । प्रतिस्पर्धात्मक खेल खेल्न नपाएकाले जोर्डनको प्रदर्शन सोचेको हुन नसकेको उनी पनि स्विकार्छन् । तर यो पक्षबारे सञ्चारजगतमा कहिले नआएको उनको दुःखेसो छ । नेपालमा पनि ५ वर्षयता दुईपटक मात्र लिग हुन सकेको छ । धेरै नेपाली खेलाडीको प्रदर्शन र रोजीरोटी लिग नहुँदा प्रभावित हुँदै आएको छ । यसको प्रभाव राष्ट्रिय टोलीसम्म पुग्ने गरेको छ । दशरथ रंगशालाको स्वरुपमा कुनै परिवर्तन नआएकाले विश्वकप छनोटको पहिलो चरणमा नेपालले सबै अवे म्याच खेलेको थियो । जोर्डनसँगको खेल नेपालको छनोट यात्रामा चौथो अवे खेल थियो । भूकम्पपछि भत्काइएको रंगशाला पुनर्निर्माणकै क्रममा छ । डिसेम्बर १ देखि १० सम्म नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदअघि दशरथ रंगशालाको पुनर्निर्माण कार्य सिध्याइसक्ने योजना छ । त्यसअघि नै नेपालले नोभेम्बर १९ मा कुवेतसँग घरेलु मैदान दशरथ रंगशालामा पहिलो खेल्नुपर्नेछ ।


घरेलु मैदानमा छनोट चरणको बाँकी चार खेल खेल्न सुरु गरेसँगै नेपाली प्रशिक्षक कालिनमाथि धेरै आशा हुनेछ । एक क्रमिक सुधार भइरहेको नेपाली टोली कुन स्थितिमा पुगेको छ भनेर घरेलु दर्शकले पहिलो पटक हेर्न पाउनेछन् । अर्को नेपालले घरेलु मैदानमा खेल्दा धेरैका आकांक्षा ठूलो हुनेछ, प्रतिद्वन्द्वी जस्तोसुकै होस् । घरेलु दर्शकसामु कालिनले नेपाली टोलीलाई केही आक्रामक रूपमा प्रस्तुत गर्न सक्छन् । प्रशिक्षक बोर्केलमान्सको जोर्डनको स्थितिमा कालिन परिचित थिए र छन् । म्याचपछिको टनेलमा यी दुईको केही वार्तालाप चलिरहेको थियो । कालिनले उनलाई अब नेपालमै भेटौंला भन्दै निमन्त्रणा गर्दा बोर्केलमान्सले त्यसलाई खुला हृदयबाट लिन नसकेको बुझ्न सकिन्थ्यो ।

खेलकुद

विराटनगर र चितवनको लगातार जित

- कान्तिपुर संवाददाता

(काठमाडौं) - विराटनगर टाइटन्स र चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) मा लगातार दोस्रो जित निकालेका छन् । शुक्रबार विराटनगरले पोखरा पल्टनविरुद्ध ६ विकेटको जित पायो चितवनले ललितपुर फाल्कोन्सलाई ८९ रनले हरायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको ९५ रनको लक्ष्य विराटनगरले १५ ओभरमै ४ विकेट क्षतिमा भेट्टायो । ललितपुरविरुद्ध अर्धशतक बनाएकी विराटनगरकी ओपनर ज्योति पाण्डेले २२ रन बटुलिन् । अर्की ओपनर सोनु खड्का खाता नखोली रनआउट भइन् लक्ष्मी चौधरीले २३ रन जोडिन् । ज्योति र लक्ष्मीले दोस्रो विकेटमा ३६ रनको साझेदारी गरे ।
ज्योति आउट भएपछि आएकी डोली भट्टले १२ रनमात्र जोडिन् । अस्मिना कर्माचार्यसँग लक्ष्मीले थप ३० रनको साझेदारी गरेपछि विराटनगरको सहज जितको आधार तय भयो । अस्मिनाले २१ बलमा अविजित १६ रन जोड्नेक्रममा २ चौका प्रहार गरिन् । कप्तान सरिता मगर ३ रनमा अविजित रहिन् । बलिङमा पोखराबाट कप्तान सीता रानामगरले २ र अनुराधा चौधरीले १ विकेट लिए ।
टस जितेको पोखराले २० ओभरमा ५ विकेट गुमाई ९४ रनमात्र जोडेको थियो । सुरुमै धर्मराएको पोखराको इनिङ्स मध्यक्रमले सम्हालेको हो । ओपनर रुवि पोदार १ र विन्दू रावल ५ रनमै आउट भएपछि पावर प्लेमा पोखराले १३–२ को स्कोर बनाएको थियो । लगातार दोस्रो खेलमा रनआउट भएकी कप्तान सीताले २९ बलमा १६ रनमात्र बनाउन सकिन् । रेवती धामीले १२ र अञ्जली चन्दले १५ रन जोडेर आउट हुँदा पोखरा १४.१ ओभरमा ५७–५ को स्थितिमा पुग्यो ।
कविता कुँवर र सरस्वती मगरले बाँकी ५.५ ओभरमा ३७ रनको अविजित साझेदारी गरे । कविताले २३ बलमा २ चौकासहित २२ र सरस्वती १५ बलमा १० रन जोडे । पोखराले अतिरिक्त १३ रन पायो । विराटनगरकी सवनम राईले किफायती बलिङ गर्दै २ विकेट लिइन् । प्लेयर्स अफ द म्याच चुनिएकी सवनमले ४ ओभरमा ८ रनमात्र खर्चेकी थिइन् । सोनु खड्काले १ विकेट लिइन् ।
लगातार दोस्रो खेलमा पराजित भएपछि फाइनल पुग्न पोखरालाई बाँकी दुवै खेल जित्नैपर्ने चुनौती छ । त्यसबाहेक अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ । पोखराकी मार्की खेलाडी तथा कप्तान सीता रानामगरले विश्वास गरेका खेलाडीले आवश्यक प्रदर्शन गर्न नसक्दा लगातार कमजोर बन्नुपरेको बताइन् । ‘हामीले युवा खेलाडीलाई विश्वास गरेर टिमसेट गरेका थियौं, उनीहरूले आवश्यक समयमा टिमका लागि खेल्न सकेनन्,’ राष्ट्रिय टोलीकी उपकप्तान रहेकी सीताले थपिन्, ‘टिममेटले राम्रो खेल्न नसक्दा म आफू पनि खुम्चिएर खेल्नुपरेको छ, आफ्नै प्रदर्शन पनि कमजोर भइरहेको छ ।’ बाँकी दुई खेलमा नयाँ रणनीति बनाउनु आवश्यक रहेको सीताले बताएकी छन् । ‘लगातार खेल हारेपछि हामीलाई अब राम्रो खेल्ने चुनौती भएको छ । बाँकी खेलका लागि हामीले ब्याटिङ अर्डर हेरफेर गर्न सक्छौं,’ उनले भनिन् । पोखरा पल्टनको पुरुष टिमले गत वर्ष पोखरा प्रिमियर लिगको उपाधि जितेको थियो ।
अर्को खेलमा ललितपुर फाल्कोन्सको हालत पनि पोखराकै जस्तो रह्यो । लगातार दोस्रो खेलमा पराजित भएपछि उसका लागि पनि बाँकी खेल जित्नैपर्ने भएको छ । अनुभवी खेलाडी ऋतु कनौजियाले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ३ विकेट गुमाई १ सय ३५ रन खडा गरेको थियो । ऋतुले ५५ बलमा ८ चौकासहित अविजित ५८ रनको इनिङ्स खेलिन् ।
ओपनर कञ्चन श्रेष्ठ खाता नखोली आउट भएपछि आएकी ऋतुले दोस्रो विकेटमा काजल श्रेष्ठसँग १९ र तेस्रो विकेटमा मार्की खेलाडी तथा कप्तान इन्दु वर्मासँग ३३ रनको साझेदारी गरिन् । काजल १५ र इन्दु १० रनमा आउट भए ।
चौथो विकेटमा ऋतुले प्रिया चौधरीसँग अविजित ६८ रनको अर्धशतकीय साझेदारी गरिन् । २३ बल खेलेर १ चौका प्रहार गरेकी प्रियाको २२ रनको योगदान रह्यो । चितवनले ३० अतिरिक्त रन दियो । त्यसमध्ये १६ रन वाइड रह्यो । ललितपुरकी मार्की खेलाडी तथा कप्तान नेरी थापाले २ विकेट झारिन् । जवाफमा ललितपुर ४६ रनमै समेटियो । कमजोर योगफलको लज्जास्पद नतिजाबाट मुक्ति पाउन कप्तान नेरीले प्रयास गरेकी थिइन् । तर, अन्यले उनलाई साथ दिन सकेनन् । उनले १७ रन जोडिन् । अन्यले दोहोरो अंकमा रन छुन सकेनन् । चार जनाले खाता खोल्नै सकेनन् । बलिङमा चितवनकी कविता गौतमले ३ र ऋतुले २ विकेट लिए । कविताले ४ ओभरमा १३ रन खर्चिइन् । ऋतुले समान ४ ओभरमा १० रन खर्चिन् भने १ विकेट लिएकी रेखा रावलले ४ ओभरमा ९ रन खर्चिन् । अलराउन्ड प्रदर्शन गरेकी ऋतु खेलको प्लेयर्स अफ द म्याच बनिन् ।
शनिबार चितवन राइनोज र पोखरा पल्टन तथा क्याट क्विन्स काठमाडौं र विराटनगर टाइटन्स भिड्ने छन् ।

खेलकुद

भारोत्तोलन तयारी कोरियामा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि नेपाली भारोत्तोलन टोली दक्षिण कोरिया जाने भएको छ । नेपाल–कोरिया संयुक्त प्रशिक्षण कार्यक्रमअन्तर्गत कोरियन भारोत्तोलन महासंघको निमन्त्रणामा भारोत्तोलन टोली दोस्रोपल्ट प्रशिक्षणमा जान लागेको हो । टोली शनिबार कोरिया जानेछ । कोरियाको नेसनल ट्रेनिङ सेन्टर चिनचोङमा नेपाली खेलाडीले विशेष प्रशिक्षण लिने छन् । महिला खेलाडीमा ५५ केजीकी सन्जु चौधरी, ६४ केजीकी देवीकुमारी चौधरी, ७६ केजीकी तारादेवी पुन, ८१ केजीकी लक्ष्मी वन विष्ट छन् । पुरुषतर्फ ७३ केजीका कमलबहादुर अधिकारी, ८१ केजीका विकास थापा, ९६ केजीका विशालसिंह विष्ट र १०९ केजीका सागर भण्डारी छन् । प्रशिक्षण कार्यक्रममा दुई प्रशिक्षक पनि जाने छन् । मुख्य प्रशिक्षक राम पौडेल र प्रशिक्षक विकास शाक्यले टोलीसँगै कोरियामा प्रशिक्षणका लागि जाँदैछन् । ट्रेनिङबाट १३ औं सागमा नेपाली भारोत्तोलनको उत्कृष्ट प्रदर्शन रहने विश्वास नेपाल भारोत्तोलन संघको छ ।

खेलकुद

आयोजकलाई मध्यविन्दु कप

- कान्तिपुर संवाददाता

नवलपुर (कास)– राष्ट्रिय खेलाडी भरत खवासको निर्णायक गोल मदतमा पूर्वी नवलपरासीको चोरमारामा सम्पन्न मध्यविन्दु कप फुटबलको उपाधि आयोजक चोरमारा युवा क्लबले जितेको छ । फाइनलमा पश्चिम नवलपरासी ११ लाई ३–२ ले पराजित गर्दै आयोजकले उपाधि जित्यो ।
खेलको छैटौं मिनेटमा चोरमाराका सुरज गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसमा विमल पाण्डेले १५ औं मिनेटमा गोल थप्दै चोरमारालाई २–० को अगाडि राखे । पहिलो हाफमा दबाबमा रहेको पश्चिम नवलपरासीले दोस्रो हाफमा लगातार दुई गोल गर्दै खेल बराबरीमा ल्यायो । दोस्रो हाफको ३० औं मिनेटमा नवलरासीका जीवन गुरुङ र ३१ औं मिनेटमा सूर्य थापाले गोल गरेका थिए । दोस्रो हाफको ३८ औं मिनेटमा आयोजकका भरतले विजयी गोल गरे । चोरमाराले २ लाख २२ हजार २ सय २२ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाए । सेमिफाइनल पराजित सेन्ट्रल कलेज भरतपुर र फुलबारी गाइज बुटवलले १५–१५ हजार पाएको आयोजक समितिका अध्यक्ष श्याम पौडेलले बताए ।

खेलकुद

माझी गोल्डकप सुरु

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– अति सीमान्तकृत जातिको रूपमा रहेको माझी समुदायको पहिचान देशव्यापी बनाउन मकवानपुरमा शुक्रबारदेखि राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा सुरु प्रतियोगितामा पहिलो दिन मकवानपुर ‘ए’ ले बारालाई ३–० ले पराजित गरेको छ । मकवानपुरको जितमा अनिल माझी, अरुण माझी र समेश माझीले गोल गरेका थिए । उनीहरूले क्रमशः ११, ३० र ५४ औं मिनेटमा गोल गरेका थिए ।


देशभरका विभिन्न १७ जिल्लाका माझी समुदायसम्मिलित टोली प्रतियोगितामा सहभागी छन् । माझी समुदायका खेलाडीमात्र सहभागी हुने प्रतियोगिता कात्तिक १० सम्म मकवानपुरको बकैया गाउापालिका–४, जुरेली खेलमैदानमा हुनेछ । प्रतियोगितामा करिब २१ लाख रुपैया खर्च अनुमान गरिएको छ । विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार तथा विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ ।

Page 17
कोसेली

कप्तानी इनिङ्स

- राजु घिसिङ

श्रीलंकाली प्रशिक्षक रोय लुक डायसले ठीक एक दशकअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान बन्न भनेका थिए पारस खड्कालाई । सुरुमा उनले डायसको प्रस्ताव ठाडै अस्वीकार गरिदिए । उनले सीधै ‘नो’ भनिदिए । उनको चाहना आर्किटेक्ट बन्ने थियो । त्यसका लािग विदेश जाने योजनामा थिए । त्यसैले उनको ध्यान देशका लागि क्रिकेट खेल्नेमा थिएन ।


‘पढ्नलाई विदेश जान चाहन्थें । त्यसैले डायस सरलाई सीधै नो भनिदिएँ,’ पारसले सम्झिए । तर, उनले प्रशिक्षक डायस र नेपाल क्रिकेट संघ (क्यान) को निर्णयलाई अस्वीकार गरिरहन सकेनन् । कप्तानको रूपमा उनले विनोद दासको स्थान लिए । विनोद टिमका खेलाडी मात्रै रहे र कप्तान बने २२ वर्षीय पारस । त्यस बेला राष्ट्रिय टिमका महबुब आलम, दीपेन्द्र चौधरी, शक्ति गौचनलगायत अधिकांश खेलाडी पारसभन्दा सिनियर थिए । त्यसैले उनलाई कप्तान बनाउन हतार गरेको भन्दै डायस र क्यानको आलोचना पनि भयो । विनोदलाई नै कप्तानमा निरन्तरता दिनुपर्ने आवाज पनि उठ्यो । हुन त पारसले सिनियर राष्ट्रिय टिमबाट खेल्न थालेको ५ वर्ष भइसकेको थियो ।


मिश्रित प्रतिक्रिया आइरहेकै बेला खेलाडीको टोलीनेताको रूपमा काम सुरु गरे पारसले । कप्तान पारसको पहिलो प्रतियोगिता बन्यो एसीसी ट्वान्टी–२० कप । नोभेम्बर २००९ मा यूएईमा भएको उक्त प्रतियोगितामा समूह चरणबाट नेपाल बाहिरियो । तर, पारस हतास भएनन् । अझ दृढ बने । अर्को वर्ष परिपक्व हुँदै नेपाललाई २०१० आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ५ च्याम्पियन बनाए, जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्र्रतियोगितामा नेपालको पहिलो उपाधि बन्यो । एसीसी ट्रफी २०१२ को संयुक्त विजेता भयो । सनसनीपूर्ण रूपमा छनोट हुँदै नेपालले ट्वान्टी–२० विश्वकप २०१४ नै खेल्यो, जुन विश्व क्रिकटमा नेपालको पहिलो र एक मात्र उपस्थिति हो । टी–२० इन्टरनेसनल (टी–२० आई) पायो । गत वर्ष प्रदर्शनकै आधरामा वान–डे इन्टरनेसनल (ओडीआई) मान्यता लियो ।


त्यसैले पारसको कप्तानी युगलाई तीन किमिसले मात्रै पनि बुझ्न मिल्छ, ट्वान्टी–२० विश्वकप २०१४ मा सहभागी, टी–२० आई र ओडीआई मान्यता । यसबीचमा नेपाली टिमले करिब–करिब बन्द घेरामा राखिएको क्रिकेटको सिन्डिकेट ‘टेस्ट मान्यता’ पाएका १० देश (अफगानिस्तान र आयरल्यान्ड थपिनुअघि) विरुद्ध मात्रै खेल्ने अवसर पाएन । अर्थात्, क्रिकेटको त्यो ‘इलिट वर्ग’ लाई चुनौती दिने मैदान पाएन । विश्व क्रिकेटको ‘दोस्रो वर्ग’ मा भने नेपाल ठूलै टिम हो र अरूलाई कडा चुनौती दिइरहेको छ । सफलतासँगसँगै केही असफलता पनि चाखिरहेको छ ।


पारस एउटा खेलाडी वा कप्तानको रूपमा मात्र होइन, पूरा क्रिकेटमै ‘रियल लिडर’ को भूमिकामा स्थापित भए । टी–२० आई र ओडीआईमा पहिलो शतक बनाउने नोपाली क्रिकेटरको कीर्तिमानमा पनि आफ्नै नाम लेखाएका पारसले भने, ‘कति निर्णय सही भयो, कति निर्णय गलत भयो तर मैले जति गरें क्रिकेटकै राम्रोकै लागि गरें ।’ उनी प्राविधिक रूपमा निपुण ब्याट्सम्यान होइनन् तर चाहिएको बेला उत्कृष्ट इनिङ्स खेल्न माहिर छन् । ब्याटिङ लाइनमा उनी नेपाली टिमका खम्बा नै हुन् । उनी पार्टटाइम बलरको रूपमा पनि प्रभावशाली छन् ।


टिमलाई सही गतिमा नेतृत्व दिइरहेका पारसले मंगलबार कप्तानबाट राजीनामा घोषणा गरे । यसले तरंग नै ल्यायो । आईसीसीको रोडम्यापअनुसार ११ असोजमा नेपाल क्रिकेट संघको निर्वाचन भयो । आईसीसीको बैठकले सोमबार मात्रै तीन वर्षयता लगाइरहेको क्यानमाथिको निलम्बन सर्तसहित फुकुवा गर्‍यो । नेपाली क्रिकेटमा यी दुई सकारात्मक कार्यलगत्तै आएको पारसको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनले खेलबाटै पनि तत्कालै ‘ब्रेक’ लिएका छन् । त्यसैले कप्तानको राजीनामाले लिएर क्रिकेट वृत्तमा ठूलै हलचल ल्याएको छ ।


पारस आफैं भने सोचविचार गरेरै निर्णय लिएको बताउँछन् । व्यक्तिगत रूपमा उनको निर्णय सही हुन सक्छ तर नेपाली क्रिकेटका लागि भने नोक्सान पर्न सक्छ । अझ उनले चन्द्र–सूर्यअंकित जर्सीमा ब्याट र बल चलाउन छाड्ने हो भने... ! ‘अहिलेलाई ब्रेक लिएको छु, यसको समयसीमा कति हुन्छ थाहा छैन,’ बिहीबार कीर्तिपुरमा पारसले भने, ‘कप्तानबाट राजीनामा दिने मेरो निर्णय हो, यसमा पुनर्विचार हुँदैन । कुनै न कुनै रूपमा क्रिकेटमै हुनेछु ।’ राजीनामापछि उनले आफूलाई जिम्मेवारीको हिसाबले ‘हल्का’ महसुस गरेका छन् । खेलाडीको रूपमा कहिले फर्किने ? ‘अहिलेलाई आराम नै हो । उस्तै जोस र इच्छाशक्ति लिएर आउनेछु,’ उनले जवाफ दिए । पारस अहिले ३२ वर्षका भए । ३७–३८ वर्षसम्म पनि क्रिकेट खेल्ने खेलाडीहरूको सूची लामो छ ।


क्विन्स इभेन्ट म्यानेजमेन्टले कीर्तिपुरस्थित त्रिवि मैदानमा वुमेन्स च्याम्पियन्स लिग सञ्चालन गरिरहेको छ । उनी हाल यसैमा व्यस्त छन् । क्विन्स इभेन्टले गत वर्ष पोखरा प्रिमियर लिग (पीपीएल) आयोजना गरेको थियो । अहिले दोस्रो संस्करणको तयारी भइरहेको छ । छुम्बी लामा प्रमुख रहे पनि क्विन्स इभेन्टमा पारससँगै राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल संलग्न छन् । पारसको चाहना पनि हो, क्रिकेट व्यवस्थापन । ‘खेलाडीकै फाइदा र क्रिकेटको विकास र व्यावसायिकताकै व्यवस्थापन थालिएको हो,’ उनले भने, ‘आयस्रोत नभएपछि नै भ्रष्टाचार हुने हो । त्यसैले क्रिकेटमा लाग्ने खेलाडी र व्यवस्थापकको भविष्य सुरक्षित हुनुपर्छ ।’

विश्वकपको सनसनी
कीर्तिपुरमा सन् २०१० मा भएको डिभिजन ५ मा समूह चरणको अन्तिम खेलमा अमेरिकाविरुद्ध ‘दर्शकको व्यवहार’ भलाद्मीको खेल भन्नलायक थिएन, जसले नेपालको भाग्य कोरिदियो । त्यसपछि उपाधि होडमा अमेरिकामाथिको प्रभावशाली जित भने नेपाली खेलाडीको कर्मकै फल थियो । पारस युगको सुरुआत हो त्यो आईसीसीअन्तर्गतको पहिलो उपाधि ।


नेपाली टिमले वर्ल्ड क्रिकेट लिग डिभिजन ४ (सन् २०१२) र डिभिजन ३ (२०१३ र २०१४) को ट्रफी चुम्यो । फाइनलको स्कोर ‘टाई’ भएपछि एसीसी ट्रफी २०१२ मा यूएईसँग संयुक्त च्याम्पियन बन्यो । एसीसी ट्वान्टी–२० कप २०११ मा तेस्रो हुँदै आईसीसी ट्वान्टी २० विश्वकप छनोटको ढोका खोल्यो । यूएईमा भएको छनोटमा सनसनीपूर्ण प्रदर्शन गर्दै नेपाली टिम तेस्रो स्थानमा रहेर विश्वकपमै पुग्यो । विश्वकप २०१४ मा अफगानिस्तान र हङकङलाई पराजित गरे पनि आयोजक बंगलादेशसँग रनरेटमा पछाडि परेपछि नेपाली टिम प्रारम्भिक चरणबाटै बाहिरियो ।


विश्वकप खेलेर स्वदेश फर्कंदा नेपाली टिमलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा हजारौंको भीड लागेको थियो । टिमलाई नगर परिक्रमा नै गराइयो । सरकार, सेलिब्रेटी, सबै दलका नेताहरूले बधाई दिए । ‘समर्थकको भीड देखेर चकित परें,’ ५ वर्षअघिको त्यो दृश्यलाई स्मरण गर्दै उनी अहिले पनि जोसिन्छन्, ‘हामी बंगलादेश जाँदा १–२ जना नेपालीले क्रिकेट हेर्थे । स्वदेश फर्कंदा पूरा देशले नै हेर्ने भयो ।’


छोटो संस्करणको क्रिकेट हो ट्वान्टी–२० । यसले विश्व खेलकुदमै क्रिकेटको क्रेज ह्वात्तै बढायो । र, यसैको विश्वकपमा उपस्थिति र दुई जितको नतिजाले नेपाललाई पनि विश्व क्रिकेटमै चर्चामा ल्यइदियो । पारस मान्छन्, ‘ओडीआई मान्यता सबभन्दा ठूलो उपलब्धि हो भने विश्वकप २०१४ कोसेढुंगा सावित भयो, जसले क्रिकेटमा लगानीको बाटो खोलिदियो ।’ नेपालले यसै वर्ष (२०१९) यूएईविरुद्ध उसैको भूमिमा ओडीआई र टी–२० आई सिरिज पनि जित्यो, जुन संरचनामा नेपालको पहिलो उपाधि हो । र, दुवैमा शतक बनाउने पहिलो नेपाली बने यिनै पारस ।


बंगलादेशको पिचमा नेपाली क्रिकेटर खुबै चले । विश्वव्यापी प्रशंसा भयो । स्वदेश फर्केलगत्तै कप्तान पारसको नेतृत्वमा खेलाडीहरूले पत्रकार सम्मेलन गरे, जसले मैदानबाहिर पनि नेपाली क्रिकेटमा सनसनी ल्यायो । खेलाडीहरूले आरोप लगाए, क्यानमा भ्रष्टाचार भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मै उजुरी दिए । क्यानका दस पदाधिकारीमाथि आर्थिक अनियमितता गरेकोमा मुद्दा नै चल्यो । पछि उनीहरूलाई अदालतले सफाइ दियो । त्यस बेला क्यान गुटबन्दीको सिकार भइसकेको थियो र पदाधिकारीको बजेट र भ्रमण मोह तथा शक्तिसंघर्षले क्रिकेटलाई ओझेलमा पार्‍यो । ठीक यही बेला पारसको नेतृत्वमा खेलाडीहरूले ‘विद्रोह’ गरे, उनीहरूलाई सबैले सुने पनि ।


त्यस बेलाका उपाध्यक्ष चतुरबहादुर चन्द क्यानका अध्यक्ष बने । आर्थिक अनियमितता र व्यवस्थापनलाई लिएर आईसीसीले क्यानलाई निलम्बन गर्‍यो । आईसीसीकै रोडम्यापअनुसार गत महिना भएको चुनावमा फेरि चन्दकै समूहले ‘क्लिनस्विप’ गर्‍यो । र, आईसीसीले सर्तसहित सोमबार निलम्बन फुकुवा गर्‍यो । पारस खुलेरै चन्द समूहको विपक्षमा लागेका थिए । पिचमा सफल भए पनि उनी यसपल्टको ‘क्रिकेट राजनीति’ मा कच्चा खेलाडी सावित भए । मैदानबाहिर उनको गतिविधिलाई लिएर आलोचना गर्नेको बाहुल्य छ, चन्द समूहमा । त्यसैले कप्तानको रूपमा त्यो समूहको नेतृत्वमा रहेर काम गर्नु वा कुनै किसिमले पेलिनुभन्दा पद त्याग्नु नै उनले उपयुक्त ठानेको हुन सक्छ ।

एकैपल्ट ५ भूमिका
यसबीच तीन वर्ष आईसीसीले नेपाली टिमलाई कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भने रोकेन । निरन्तर खेल्न दिइरह्यो र राष्ट्रिय खेलकुद परिषद्सँग सहकार्य गर्दै खेलाडी र टिमलाई बजेट पनि दिइरह्यो । अन्तर्राष्ट्रिय क्रिकेट हेर्ने निकाय हो आईसीसी । तर, उसको निलम्बनपछि क्यान र यसका पदाधिकारी नेपाली क्रिकेटको विकासे कार्य र गतिविधिबाट टाढिए । एक–दुई जनाबाहेक क्यानमा आबद्धहरू क्रिकेटमा देखिनै छाडे । नेपाली टिम भने अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त भइरह्यो । सुरुमा क्यानकी सीईओ भावना घिमिरेले नेपाली टिमको व्यवस्थापन गरेकी थिइन् । बिस्तारै यो काम पारस खड्काले गर्न थाले । क्यान निलम्बनमा परेपछि छनोट समिति पनि रहेन र यो काम पनि प्रशिक्षकसँगै पारसकै काँधमा पर्‍यो । जुनियर खेलाडीलाई प्रेरित गरिरहने टिमका ‘मेन्टर’ पनि पारस नै हुन् ।


करिब चार वर्ष व्यवस्थापक, छनोटकर्ता, मेन्टर, कप्तान र खेलाडीको आफ्नो जिम्मेवारीबारे उनले भने, ‘यो हुन्छु वा त्यो गर्छु भनेर योजना बनाएर कहिल्यै लागिएन । त्यसैले जति जिम्मेवारी पाएँ त्यसमा बोझ भएन । सबै भूमिकामा सधैं राम्रो गर्ने प्रयास गरिरहे । पूर्णतः सफल बनाउन हरसम्भव प्रयास गरे । जे गरे, क्रिकेटको राम्रैका लागि गरे ।’ क्यानले नयाँ निर्वाचनयता छनोट समितिलगायत अरू विभाग बनाएको छैन ।


अहिले क्रिकेटमा स्रोत र साधनको कुनै अभाव नभएको मान्छन् पारस । ‘क्रिकेटलाई माया गर्ने मान्छे छन्, क्यान छ, लगानीकर्ता तयार छन् । यसै बेला हो सबै मिलेर क्रिकेटलाई अगाडि बढाउने,’ उनले भने । उनको कप्तानी कालमा क्रिकेटलाई हेर्ने दृष्टिकोण फेरियो तर क्रिकेटवालाको व्यवहारमा परिवर्तन आएको छैन । यसबाट उनी पनि चिन्तित छन् । प्रस्ट बोलेका छैनन् तर उनी यी सबै पक्षलाई सच्याएर क्रिकेटको नेतृत्व गर्न चाहन्छन् । त्यसैको अभ्यास हुनुपर्छ, क्विन्स इभेन्ट, पीपीएल र डब्लूसीएल । उनी नेपाली बजारका पनि मुख्य ‘ब्रान्ड’ हुन् र उन आफैंले धेरै खेलाडीका लागि प्रायोजक मिलाइदिएका छन् ।


ब्याट र ब्याटको कनेक्सनको आउने साउन्डले उनलाई पिचतिरै फर्कन लोभ्याउँछ । उनी बाहिर जति शान्त देखिन्छन्, मैदानमा उत्तिकै आक्रामक रूप लिन्छन् । ‘देशका लागि खेल्दाको अनुभव नै बेग्लै हुन्छ । मैदानमा बेग्लै ऊर्जा आउँछ । मैदानमा देखिने आक्रामक रूप त्यसैको सकारात्मक पक्ष होला,’ उनले भने । विश्वकै नम्बर १ वरीयतामा रहेकै बेला अफगानिस्तानी बलर रसिद खानविरुद्ध रनको वर्षा पनि गरे । उनले यू–१९ विश्वकपमा नाम चलेका खेलाडीविरुद्ध प्रतिस्पर्धा गरे, जसले पछि विश्व क्रिकेटमा तहल्का मच्चाए । त्यो तह (टेस्ट मान्यता) मा खेल्न नपाएको महसुस भने उनलाई हुन सक्छ । उनी आफ्नो मुख्य लक्ष्य पनि नेपाल टेस्ट मान्यतास्तरमा पुगोस् भन्ने नै हो ।

ज्ञानेन्द्रमा आशा
भारतीय क्रिकेट टिममा कप्तान महेन्द्रसिंह धोनीको विकल्प छैन भनिन्थ्यो । तर, उनको स्थान लिएयता विराट कोहलीले सफलताका एकपछि अर्को इतिहास बनाइरहेका छन् ।पारसको कप्तानीमा लगातार एक दशक उपकप्तान बने, ज्ञानेन्द्र मल्ल । त्यसैले पारस अबको कप्तानमा ज्ञानेन्द्रलाई सिफारिस गर्छन् । पारस अनुपस्थित रहेका केही खेलमा ज्ञानेन्द्रले नै कप्तानी गरेका थिए । ‘निर्णय गर्ने क्यान र प्रशिक्षकले हो,’ नयाँ कप्तानबारे भने, ‘म वा आफ्नाका लागिभन्दा क्रिकेटलाई माया र काम गर्ने कप्तान हुनुपर्छ । अनि आफैं सबै कुरा सही हुन्छ, राम्रो हुन्छ ।’


‘धेरैले मलाई जस दिन्छन् तर एक्लैले गरेर केही हुँदैन, पूरा टिम (खेलाडी र व्यवस्थापन) को मिहिनेतले सफलता मिलेको हो,’ पारसले भने, ‘महान् खेलाडीहरूको समूह पाएँ । क्रिकेटलाई नै माया गर्ने प्रशिक्षकहरू पाएँ । त्यसैले म भाग्यमानी भएँ ।’ प्रशिक्षकहरू रोय डायस, पुबुदु दसानायके, जगत टमाटा, उमेश पटवालसँग खेलेका उनी भावुक बने, ‘मैले त क्रिकेट खेल्ने सपना पनि देखेको थिइनँ न कि खेलाडी वा कप्तान नै बन्ने । विदेश जाने सोचमा थिएँ । भाग्यमा लेखिएको कुरा भएरै छाड्ने रहेछ ।’ क्रिकेट व्यवस्थापनमा उनको भाग्य कस्तो हुन्छ त ?
Twitter :  @rghising

Page 18
कोसेली

समय यात्रा : मनाङ

कल्पना गर्छु, इतिहासको गर्तमा लुकेको कथाले भग्नावशेषमा उभिएर मूक भाषामा मानौं केही भनिरहेको छ । त्यो संरचना पर्यटकीय आकर्षकको जबरजस्त केन्द्र हुन सक्थ्यो ।
- रोशन शेरचन

 

काठमाडौंबाट बेंसीसहर हुँदै कोतो एक दिनको गाडी यात्रा । कोतोबाट भने मोटरबाटोलाई छाडेर हिँड्नुपर्ने । त्यसैले कोतो–नार फू गन्तव्यलाई ‘अफ द बिटन’ मार्ग भन्दा रहेछन् । कोतोबाट डेढ दिन हिँडेपछि च्याखु आइपुग्नै लाग्दा साइनपोस्टमा दृष्टि गयो । त्यसमा लेखिएको थियो— च्याखु, खम्बा बस्ती, उचाइ ३७३५ मिटर ।


मनाङ यसै दुर्गम जिल्ला, च्याखु थप दुर्गम । झन्डै चार हजार मिटरको उचाइ मेरो निम्ति नौलो थिएन तर खम्पा बस्ती भन्ने सूचनाले कौतूहल जगायो । खम्पाबारे मलाई थोरै मात्र थाहा थियो । स्कुले उमेरमा सुनेको थिएँ— तिब्बतबाट आएको खास जाति हो खम्पा र सन् सत्तरीको दशकमा मुस्ताङमा खम्पा युद्ध भएकोथ्यो । बाटामा पर्ने मेता र झुनुम बस्तीको बोर्डमा पनि खम्पा बस्ती नै लेखिएको थियो । नार फू जाँदा बास पर्ने बस्ती हो— मेता । पर्यटकहरू मेतामै बस्न रुचाउँछन् । झुनुम भने परित्यक्त बस्ती हो । भग्नावशेष हेर्दा, झुनुम उहिलेको सम्पन्न बस्ती लाग्थ्यो । महामारीको कारणले बासिन्दाले त्यो गाउँ छाडेको थियो भन्ने बुझियो । खम्बा शब्दले उत्पन्न गरेको जिज्ञासा मस्तिष्कमा दौडिएको अनुभव गरे ।


च्याखु आउनुअगिको उकालोले थकाउनु थकायो । चिसो सुक्खा हावामा पनि उकालोले पसिना छुटाएको थियो । सानो मनोरम उपत्यकामा हामीले आफैंलाई पायौं । एकतले भवन भर्खर बनिभ्याएजस्तो देखियो । माछीकाँडे तारजालीले घेरेको । केही कर्मी नजिकै ढुंगामाटाका काम गरिरहेका थिए । तीमध्ये एक जनालाई सोधे । गाउँपालिकाको भवन रहेछ । त्यतै बढ्यौं । पालिकाको बोर्डमा लेखिएको थियो, नारपा भूमि गाउँपालिका, च्याखु । झोला त्यही बिसायौं र झन्डै पन्ध्र–बीस मिनेट हिँडी च्याखु गेस्टहाउस एन्ड रेस्टुरेन्टमा पुग्यौं । च्याखुमा जम्मा चारवटा मात्र होटल छन् । रंगीचंगी फूलहरू फुलेको उक्त गेस्टहाउसको बगैंचामा बसेर वरपर नियाल्दा ल्यान्डस्केप विछट्टै सुन्दर देखिन्थ्यो ।


मेरो ध्यान भने नजिकैको थुम्कोमा रहेको भग्नावशेषहरूले खिच्यो । पालिकाका उपाध्यक्ष कुन्जोक तेन्जिङ लामा पनि आइपुगे । पारिलो घाममा कागती चिया पिउँदै कुराकानी गर्‍यौं । ती भग्नावशेष विगतमा खम्बा बस्ने घर र उनीहरूको सुरक्षापोस्ट रहेछ । पृष्ठभूमिमा विशाल चट्टानको पहाड देखिन्थ्यो । खस्रो न खस्रो । रूखको रिङझैं त्यो पहाडको भित्री सेता पत्रहरू कतै सीधा रेखामा दौडेको कतै बांगिँदै धसेको थियो । भीरकै एक खण्डमा चाहिँ कसैले ड्रमका ड्रम अलकत्रा घोप्टाएको जस्तो देखिन्थ्यो । के त्यो चुहिएको नीरमसी हो ? नीरमसी चुहिन्छ र ? कुनै खनिज लवण हो कि ? अजंगको पहाड छेवैको बगैंचामा चिया पिउँदा प्रगाढ शान्तिको अनुभव भयो । मान्छेको कोलाहल कतै छैन । टाढाटाढासम्म नामनिशान छैन । हिमाली कागहरूले कहिलेकाहीं शान्ति भंग गरेको छ बस । समय रोक्किएको छ । मानौं यहाँसम्म आइपुग्दा नपुग्दै समय पनि थाकेर गहिरो विश्रान्तिमा छ ।


खम्पा प्रसंग चलिरहेकै थियो । हिमाली क्षेत्रको सामाजिक, सांस्कृतिक र अर्थराजनीतिका ज्ञाता डा. शैलेन्द्र थकालीले सुनाए— सन् १९५० मा चीनले तिब्बत कब्जा गरेपछि खम्पा मूलका केही तिब्बतीले हतियार उठाए र चिनियाँविरुद्ध विद्रोह थाले । विद्रोहीलाई सीआईएले कोलोराडोमा सैन्य तालिम दिएको थियो । तिब्बतीजस्तै भूसतह भएकाले कोलोराडो नै छानिएको थियो । त्यसपछि मुस्ताङ, मनाङजस्ता दुर्गम स्थानमा तत्कालीन नेपाल सरकारको उपस्थिति नभएकाले त्यही बेस बनाएर खम्पाहरूले चिनियाँसँग गुरिल्ला युद्ध लडे । गुरिल्ला युद्धलाई उपयुक्त दुर्गम बस्ती र बन्जर खोंचहरू भएकाले मेता, झुनुम र च्याखुजस्ता स्थानहरू रोजेका होलान् । मुस्ताङ झन् महत्त्वपूर्ण बेस थियो । जोमसोम निवासी डा. थकाली बाल्यकालमा आफूले खम्पाहरू देखेको बताउँछन् । अग्ला न अग्ला, चुप्पी भिरेका उनीहरू खस्रा र डरलाग्दा हुन्थे ।


चौतर्फी टाउको घुमाउँछु । दक्षिणतर्फ अन्नपूर्ण दोस्रो हिमाल देखिन्छ । कोतोबाट त्यो उत्तर दिशामा देखिएको थियो । डेढ दिनको हिँडाइको बलले हामीले हिमालकै दिशा परिवर्तन गरिदिएका थियौं । पूर्वी दिशामा च्याखु शिखर र ग्लासियर छेवैमा छ । कहिलेकाहीं प्रकृति लाग्छ । प्रकृतिको सान्निध्यमा त्यस्तै मात मलाई कतै लाग्यो । त्यो शान्त बगैंचामा केही हप्ता एक्लै रम्न सकिन्थ्यो । एक बिहान भने च्याखु ग्लासियरमा हिम पहिरो गएको देखें । जीवनकै पहिलो अनुभव । भयानक विस्फोटको आवाज आयो । झस्कें । पहाडहरूमा ठोक्किँदै प्रतिध्वनि निस्क्यो । ग्लासियरबाट हिउँपहिरोको धूवाँ उड्दै फैलिँदै गरेको देखियो । प्रकृति बाहिर मात्र शान्त देखिन्छ । भित्र हमेसा आवेगमा हुँदो रहेछ ।


दिउसो कुन्जोकले हामी सबैलाई खर्क देखाउन लगे । समूहमा थियौं— शंकर कोइराला, शैलेन्द्र थकाली, लाक्पा तेन्जी शेर्पा, छ्योकी, डोल्मा र म । त्यो खर्कमा बहुमूल्य जडीबुटी यार्चागुम्बु पनि पाइदो रहेछ । यार्चागुम्बु यसरी खोज्ने हो, कुन्जोकले हात र घुँडा टेकेर देखाएपछि केहिले त्यसको सिको गर्न लाग्यौं । घण्टौ त्यसरी यार्चागुम्बु खोज्नु कम्ती कठिन काम थिएन । विगतमा यसै भेगमा यार्चागुम्बु टिप्दा बाहिरी जिल्ला र स्थानीयवासीबीच झगडा हुँदा केही व्यक्ति मारिएका पनि थिए । त्यो द्वन्द्वको निरुपण कसरी भयो ? थाहा भएन । कसैले त्यसको बारेमा विस्तृत अनुसन्धान गरेको भए, प्राकृतिक स्रोतमा आधारित द्वन्द्वको विषयमा त्यो उपयोगी सन्दर्भ बन्ने थियो । विडम्बना, बाहिरका केसहरू हामी प्रशस्त पढ्छौं तर आफ्नै वरपरका घटनाहरूतिर भने हाम्रो ध्यान जान सकेको छैन ।


खर्क उक्लँदै गर्दा, कुन्जोक बताउँछन्, ‘ऊ त्यहाँ गुरु रिम्पोचेको मूर्ति स्थापना गर्ने योजना छ ।’ गुरु रिम्पोचे वा पद्मसम्भवलाई बुद्धमार्गीहरू धेरै पुज्छन् । वातावरण संरक्षणको दृष्टिले बौद्व धर्म उत्तिकै उपयोगी पनि छ । कुन्जोकले इसारा गरेको दिशातिर नियालें । लमतन्न पसारिएको हरियो खर्क ग्लासियरतिर बढ्दै गएको र भोजपत्रको एकलकाटे रूखहरू ट्रिलाइनमा उघेंजस्तो देखिन्थ्यो ।


शंकर कोइराला उमेरले समूहमै जेठो भईकन पनि उत्तिकै उत्साही । कर्मचारी जीवनका कैयन् वर्ष हिमाली जिल्लामा बितेका रहेछन् । हिमालप्रेमी । छुकी र डोल्मा अरूहरूभन्दा बढी प्रफुल्ल देखिन्थिन् । नयाँ स्थानमा पुलकित थिइन् । छुकी हुम्ला निवासी, डोल्मा पूर्वकी । अगि–अगि हिँड्थिन् र रमणीय स्थान वा त्यस्तै वनस्पति देखे फोटो खिचिहाल्थिन् । हामी खर्कको डिलमा पुग्यौं । ग्लासियरबाट निस्केको ठाडो खोला गडगडाउँदै बगेको देखिन्थ्यो । तल झोलुंगेपुल देखिन्थ्यो, जुन हामीले हिजो तरेका थियौं । खोलापारि भोजपत्रको घना वन थियो । नाउर, कस्तूरी मृग, झारलको बासस्थान पनि । त्यहाँ गुच्ची च्याउ पनि पाइन्छ भन्ने सुनियो । गुच्ची च्याउ दुर्लभ र महँगो च्याउ मानिन्छ । सहर बजारमा त्यसको खुद्रा मूल्य रु. ११ हजारप्रति केजीदेखि सुरु हुन्छ । समय हुन्थ्यो भने, च्याउ खोज्न जान हुन्थ्यो । लेकाली वनमा पहिलोपटक च्याउ देखिँदा प्राप्त हुने आनन्दको मूल्य त्यसको भौतिक मूल्यभन्दा कता–कता बढी हुने प्रस्टै थियो । तर समय अभावले सम्भव भएन । जाडो र थकाइ बढ्दै गएपछि फर्क्यौं ।


बासको प्रबन्ध गाउँपालिकामै गरिएको थियो । त्यहाँ बस्ने पहिलो समूह हाम्रै थियो । लाक्पा तेन्जी शेर्पाले पालिकासँग समन्वय गरी त्यहाँ व्यवस्था गरेका थिए । अर्को दिनदेखि तालिम सुरु हुन्थ्यो । गाउँपालिकाका प्रतिनिधिहरू सहभागीको रूपमा नार र फूदेखि आउँदै थिए । खाना भने च्याखु गेस्टहाउसमै लियौं । राति थेन्तुप खाने सल्लाह भयो । थुक्पाजस्तै देखिने थेन्तुपमा पिठोका लाम्चा फित्ताहरू पानीमा उसिनिन्छ । लेकाली मसला, सागपात, प्याज, लसुनले थेन्तुप बिर्सिन नसकिने बनेको थियो । त्यसमा रैथाने पेय पदार्थ मिस्सिएपछि त सक्की गो ! बाहिरको ल्यान्डस्केप र मस्तिष्कभित्रको ब्रह्माण्ड मिस्टिकल भयो । बासस्थान फर्क्यौं । चाँडै ओछ्यानमा पल्टें । मानसमा खम्पा–विम्ब खेलिरह्यो ।


खम्पा विद्रोहताका म दुई–तीन कक्षामा पढ्थें । गण्डकी बोर्डिङ, पोखरामा । धमिलो सम्झना छ–हेलिकप्टर बारम्बार हेम्जा र सारङ्कोट डाँडामाथिबाट उडेको । शिक्षकबाट थाहा पायौं— मुस्ताङमा खम्मा युद्व हुँदै छ । सायद बत्तीस, तेत्तीस वा चौंतीस सालतिरको घटना हुनुपर्छ । युद्वको कारण भने यसपटकको यात्रामा थाहा भयो । अमेरिकाले खम्पाहरूलाई सैन्य सहयोग गरेपछि चीनले नेपाल सरकारलाई दबाब दिएछ— नेपालले खम्पाहरूलाई हटाउनुपर्‍यो, हैन भने चीन नै अघि सर्छ । चीनको दबाबमा नेपाल सरकारले खम्पा हटाउन त्यो अपरेसन थालेको रहेछ । डा. थकालीका अनुसार, रिचार्ड निक्सन राष्ट्रपति भएपछि अमेरिकाको परराष्ट्र नीति फेरियो र खम्पा विद्रोहीलाई दिँदै आएको आर्थिक तथा सैन्य सहयोग रोकियो । खम्पा विद्रोह त्यसपछि मत्थर बन्दै गयो । साथै दलाई लामाले हिंसा त्याग्न अपिल गरेपछि धेरै खम्पा विद्रोहीहरूले हातहतियार बिसाई सामान्य नागरिक जीवनमा फर्किए ।


कल्पना गर्छु, इतिहासको गर्तमा लुकेको कथाले भग्नावशेषमा उभिएर मूक भाषामा मानौं केही भनिरहेको छ । त्यो संरचना पर्यटकीय आकर्षकको जबरजस्त केन्द्र हुन सक्थ्यो । ‘भग्नावशेषबारे गाउँपालिकाको योजना के छ ?’ मैले दिउसो सोधेको थिएँ । ‘भग्नावशेष भत्काउँदैनौं । बरु सूचना पाटीहरू बनाई त्यसको प्रवर्द्धन गर्छौं,’ कुन्जोकको जवाफ थियो । यौटा भग्नावशेष भने आकारमा ठूलो थियो । ब्यारेक, खरखजाना राख्ने वा बैठककोठा त्यस्तै केही हुनुपर्छ । अहिले त्यहाँ कामदार र सिकर्मीहरू बस्दा रहेछन् । सप्पै रोल्पाबाट आएका ।


कुन्जोकले सुनाए, ‘रोल्पालीहरू अचम्मै काम गर्छन् । असाध्य मिहिनेती छन् । तोकेकै समयमा काम सक्काउँछन् ।’ जंगली च्याउबारे पनि रोल्पालीहरूको ज्ञान फराकिलो रहेछ भन्ने थाहा पायौं । भयो के भने, दिउसो च्याउको तरकारी खाएका थियौं । एक जना स्थानीय महिलाले आधा डोकोजति च्याउ भर्खर जंगलबाट टिपेर ल्याएकी थिइन् । फररर परेको काउलीजस्तो र छाता च्याउ । ‘कतिथरीको च्याउ पाइन्छ ?’ सायद छुकीले सोधिन् । ‘हामीले यी दुई खालका च्याउ मात्र खाने गरेका थियौं । रोल्पालीहरूले भनेपछि मात्र थाहा भयो, अरू च्याउहरू पनि खान मिल्ने रहेछ,’ कुन्जोकको जवाफ थियो, ‘सबै गन्दा त्यस्तै दस–बाह्रथरीका च्याउ होला ।’ म जिल खाएँ । पुस्तौं बिताएका रैथानेहरू पनि त्यतिविधि अनभिज्ञ हुँदा रहेछन् । बाहिरी समाजसँगको अन्तरक्रियाको महत्त्वलाई त्यस घटनाले दर्साउँथ्यो ।


बेलुका समसामयिक विषयमा छलफल भएको थियो । कुन्जोकले आफ्नो धारणा बताए, ‘संघीय व्यवस्था लागू भएपछि पालिकाहरूले निकै अधिकार पाएका छन् । गाउँपालिकाको नामकरण गर्दा हामीले नारपा भूमि भन्यौं । शेर्पा भनेझैं, नारपा । नार, फू वा वरपर बस्ने सबै नारपा । नारपा, हाम्रो पहिचान । पहिला अधिकार थिएन । अधिकार सबै केन्द्रमा, सत्तामा बस्ने बाहुन–क्षत्रीसँग थियो । त्यसैले देशको अवस्था बिग्रँदा, सोचेजस्तो नहुँदा, बाहुन–क्षत्रीले नै बिगार्‍यो भन्थ्यौ । अब स्थानीय सरकारलाई अधिकार र दायित्व छ । अब पनि हामीले गर्न सकेनौं भने, लाज हुन्छ । हामीलाई पनि अरूले त्यस्तै भन्छ ।’ उनले इमानदारीपूर्वक भने । बेलुकाको मद्दिम प्रकाशमा पनि उनको अनुहार दीप्त देखिन्थ्यो । केन्द्रमा बस्नेले संघीयतालाई कसरी लिएका छन्, मलाई थाहा छैन तर स्थानीय स्तरमा अपनत्व लिएको देखिन्थ्यो ।


मनाङ झरनाहरूको भूमि पनि रहेछ । मेता पुग्नुअगाडि एक स्थानमा त झरनाको पारदर्शी कर्टेन टाँगिएको पहरा हुँदै हिँड्यौं । त्यो अनुभूति अतियथार्थिक बन्यो । यसपटकको मनाङ, च्याखुको यात्रा समययात्रा थियो । संघीय गणतान्त्रिक संरचनाबाट खम्पाकालसम्मै तन्किएको । मानौं समययात्राले भनिरहेको छ— समय सधैं गतिवान् छ, त्यसैले कहिल्यै नबिसाउनू । थाके विश्राम गर्नू तर कहिल्यै नरोकिनू ।

कोसेली

'इगोको एसिड'

 

इन्स्टाग्रामको एउटा पोस्टबाट भदौ २० गते बिहानै थाहा भयो, वीरगन्ज छापगैयाँ निवासी कक्षा ९ मा पढ्ने पन्ध्र वर्षकी मुस्कान खातुनलाई दुई युवाले एसिड आक्रमण गरेछन् । उनको अनुहार, घाँटी, हात जलेको रहेछ । मुस्कानका मुस्कानहरू बिलाएका रहेछन् एसिडका थोपाथोपामा । १५ वर्षीय किशोरी मुस्कानका ओठमा मुस्कान ल्याउने कति खुसीहरू थिए होलान् । कति सपनाहरू थिए होलान् उनका र उनका आमाबाबाका । सबै जलेर खरानी भएछन् केही बेरमै एसिडको रापमा परेर । सधैं ओछ्यानबाट ताजगी महसुस गर्दै उठ्ने मेरो बानी थियो तर त्यो दिन निकै ढिलासम्म उठ्न सकिनँ । कारण, उनै फूलझैं कोमल मुस्कान खातुन ।


संगीता पुलामी, सीमा बस्नेत, वसन्ती परियार, बिन्दवासिनी कंसाकार र समाचारमा आइरहने यस्ता थुप्रै नामलाई सम्झियो मनले । यतिखेर मुस्कान खातुनका बारेमा बल्झिएको छ यो मन । मुस्कानलाई पीडक युवकले जिस्क्याउँदै आएको र मुस्कानका बुबाले सम्झाएपछि त्यो क्रम बन्द भएको छ महिनापछि यो कहालीलाग्दो घटनाबाट पीडित बनिछन् उनी । मुस्कान मात्रै होइन थुप्रै छोरीहरू पीडित बनेका छन् र बन्ने क्रम जारी छ ।
सामान्यतः एसिड आक्रमणका घटनाहरू पर्सनालिटी डिजअर्डर, एन्टिसोसियल पर्सनालिटी डिजअर्डर, इम्पुल्स कन्ट्रोल, नार्सिस्टिक बिहेभियर आदि कुनै एक मानसिक विकृति भएका व्यक्तिले गर्छन् । विशेषतः छोरीमान्छेले गरेको तिरस्कार सहन नसक्ने हुन्छन् यस्ता प्रकृतिका केटाहरू । चाहे त्यो प्रेम प्रस्ताव अस्वीकृत होस् वा अरू नै कुनै कारण । यस्ता साइकोप्याथ मनोगतिका अपराधहरू भइरहेका सुनिन्छन् प्रायःजसो । ईर्ष्याका कारण हुने यस्ता प्रकृतिका घटनाहरूमा पीडितले पीडकलाई जानेको–चिनेको हुन्छ र कुनै प्रस्ताव अस्वीकृत हुँदा ईर्ष्याकै कारण बदलाको भावको ज्वाला हृदयमा बालेर हिँड्ने हुनाले यस्ता घटना हुन्छन् ।


थोरैतिनै ईर्ष्या मानवीय स्वभाव भएकाले यसलाई सामान्य नै मानिन्छः सामान्य ईख हुनु राम्रो मानिएजस्तै । ईर्ष्या वा ईख जे होस् मानिसमा सामान्य रूपमा हुँदा सकारात्मक परिणाम नै ल्याउँछ तर त्यो असामान्य बन्यो भने यसले बदलाको भाव पैदा गर्छ । अनि इख नै बिख बनिदिन्छ, मानिसको जीवनमा । सामान्यतया प्रेम सम्बन्धमा यस्ता घटनाहरू हुन्छन् र घटना गराउनेमा केटाहरू हुन्छन् । केटाहरू देब्रे मस्तिष्कबाट सञ्चालित हुने हुन्छन् । ईख (इगो) पनि देब्रे मस्तिष्कमै हुन्छ । फलस्वरूप प्रेम प्रस्ताव अस्वीकृत हुँदा वा तिरस्कृत हुँदा उनीहरूको ‘इगो हर्ट’ हुन्छ । छोरीमान्छेले हेपेको भन्ने भ्रमका कारण भित्रभित्रै जलन महसुस गर्छन् । यसै कारण उनीहरूले योजनाबद्ध रूपले एस्तो कुकृत्यको योजना बनाउँछन् । यसर्थ हाम्रो पारिवारिक र सामाजिक विश्वास पनि कहीं–कतै दोषी देखिन्छ, छोरीमान्छेप्रतिको बुझाइले सिर्जना गरेको इगो र पुरुष मनोविज्ञानप्रति ।


आफ्नो अहंममा पुगेको चोटलाई मलम लगाउन उनीहरू उनीहरूले कसैको जीवन बर्बाद पार्छन् । के कारणले प्रस्ताव अस्वीकृत भयो भन्ने विचार गरी खुला र सफा हृदयले जिन्दगीमा अगाडि बढ्दा खुसी मिल्छ । तर, जब व्यक्तिको इगो ‘अस्वस्थ इगो’ मा परिणत गराउँछ, अनि यस्ता आपराधिक योजनाहरू बन्छन् । हुन त यो व्यक्ति स्वयम्को मनोगति हो तर यसखाले कुकृत्यमा परिवार र समाज पनि दोषी छ । ढुंगेयुगबाट आज मानिस एक्काइसौँ शताब्दीको यो वैज्ञानिक युगमा अनूदित भैसकेको छ । मानिसले प्रविधिमा पनि धेरै फड्को मारिसकेको छ तर छोरीमान्छेप्रतिको हाम्रो नेपाली पुरातन मनोविज्ञान त्यो अनुपातमा अनूदित हुन सकेको छैन । छोरीमान्छेको ‘हुँदैन’ लाई अपहेलना र तिरस्कारको आशयले बुझ्न परिवार र समाजले सिकायो छोरामान्छेहरूलाई । हाम्रो समाजमा सानै उमेरका केटालाई ‘तँ त छोरोमान्छे, छोरीमान्छेले जस्तो कुरा गर्न वा काम गर्न सुहाउँदैन’ भनेर सिकाइन्छ । घरको काम छोराले गर्ने होइन भनेर भनिन्छ । छोरालाई खुल्लमखुला छोडिन्छ । उक्त भनाइ वा व्यवहारको अर्थले छोरीमान्छे आफूभन्दा तल्लो स्तरको हो र आफू सर्वेसर्वा भन्ने भावभ्रम उसको मस्तिष्कमा विकास गर्दै जान्छ उसले र व्यवहार पनि सोहीअनुसारको व्यवहार गर्दै जान्छ । र, भविष्यमा कुनै छोरीमान्छेले ‘हुँदैन’ भनेको सुन्न नसक्ने हुँदा ‘मेल इगो’ हर्ट हुन जान्छ ।


मपाईं गर्ने व्यक्ति वा आफैलाई अत्याधिक महत्व दिने मान्छे एउटी छोरीमान्छेले गरेको तिरस्कारले अपहेलनाको महसुस गर्छन् र उनीहरूको मनमा ईर्ष्याको हुँदा प्लानिङ गरेरै भए पनि तिरस्कार वा अपहेलना गर्नेलाई हानि गर्छन् । मेरो भनाइको मतलब, एसिड प्रहार मानिसको सिकाइ, बुझाइ, मानसिक समस्या र मनोगतिसँग सम्बन्धित छ भन्ने हो । यदि कसैले एसिड प्रहार गर्ने सोच बनाउँदै गरेको थाहा भएमा मनोपरामर्शदाता कहाँ लैजानुपर्छ थाहा हुने व्यक्तिले अगाडि गएर घटना नहोस् भन्नका लागि । पीडकको शरीर त जल्छ–जल्छ साथै मानसिक रूपमा समेत विक्षिप्त हुन सक्ने सम्भावना ज्यादै हुन्छ । अप्रत्याशित हुने घटनाले पीडितलाई ‘साइकोलोजिकल ट्रमा’ मा पुर्‍याउन पनि सक्छ ।


हामी शारीरिक पीडालाई वास्ता गर्छौं र मानसिक पीडालाई बेवास्ता । मानसिक पीडा पनि शारीरिकजत्तिकै पीडादायक हुन्छ भन्ने कुरासँग कहिले सचेत हुने हामी ? मुस्कानलगायत अन्य पीडितको मानसिक स्थिति कस्तो हुन्छ र हुन सक्छ भन्ने कुराको अनुमानसम्म गर्न सकिँदैन । कहिले संवेदनशील बन्ने हामी ? समाजमा ‘एसिड सर्भाइबल’ हरू थुप्रै छन् । संगीता पुलामी, सीमा बस्नेतजस्ता एसिड सर्भाइबललाई हेरेर दरिलो हुनुपर्छ । दिनभरिजसो यही कुरा सोचिरहेकी थिएँ । ‘तेरी छोरीलाई यस्तो भा’को भए तँ के गर्थिस् ?’ कसैले कानैमा फुस्फुसाएझैं गर्‍यो । साँच्चै, मेरी छोरीलाई यस्तो भएको भए के गर्थें होला म ? मेरी त छोरी छैनन् । जवाफ सीधा भए पनि मुटु काँप्यो थरथर । छोरीका आमाहरूलाई कति डर हुँदो हो यस्ता सिलसिलेवार एसिड र बलात्कारका घटना सुन्दा र पीडितका क्षतविक्षत तस्बिर हेर्दा ।


ओहो ! सम्झिँदा मात्रै पनि कहाली लाग्छ । यदि मेरी छोरी नै भएकी भए पनि सचेतताका लागि केही गर्न सक्दिनथें म । कसैले एसिड छ्याप्ला कि भनेर मुख छोपेर हिँड्न पनि त सकिँदैन न त घरभित्रै बसिरहन सकिन्छ । छोराले यदि एसिड हान्न लागेको कतैबाट थाहा पाएको खण्डमा दुइटा काम गर्थें म । पहिलो, उसलाई सम्झाउँथें र दोस्रो, मनोपरामर्शदाताकहाँ लैजान्थें । एसिड पीडक मनस्थितिसँग सम्बन्धित हुन्छ भन्ने सच्चाइ थाहा नभएको अवस्थामा भने के गर्थें ? गाली गर्थें, पछुताउँथें जन्म दिएकामा वा छोराप्रतिको ममताले घुँडा टेक्थ्यो कि ? वा कानुनको जिम्मा लगाउँथें कि ? जे होस् समाजमा यस्ता घटना मौलाउनु हुँदैन । अनाहकमा कोही कसैद्वारा पीडित बन्नु हुँदैन । कहिले हुने छोरीमान्छे सुरक्षित ? आफ्नै दाजु, काकाबाउ, हजुरबाउ र मामाहरूबाट कहिले सुरक्षित महसुस गर्ने हामीले ? ‘दिदी हेर्नु न दाइलाई जस्तो मलाई विश्वासै गर्नुहुन्न घरमा । जे गरे पनि ‘तँ छोरीमान्छे होस् छोरा मान्छेसँग जुध्न सक्दिनस् । घरमै बसेर पढ्नू । नाच्ने, गाउने होइन !’ भन्नुहुन्छ । मलाई भने कलाकारिता मन पर्छ । घर छोडेर कतै भागौं र आफैं संघर्ष गरौंजस्तो लाग्छ, फेरि समाजमा डर भन्ने चीजको आहालमा यसरी भासिदिएको छ कि हत्तपत्त निस्किनै सक्दिनँ म के गरौँ ? आमाको कुरा सुनेर पढाइमा मात्रै ध्यान दिऊँ भने पनि सकस हुन्छ नदिऊँ भने पनि सकस हुन्छ मलाई,’ हिजो भर्खरै मात्र आफन्त बहिनीले गुनासो गरिन् । सुरुमा त उनको कुरै बुझिनँ मैले । पछि थाहा भयो– क्रमबद्ध हुने एसिड र बलात्कारका घटनाले उनकी आमाको मनमा पनि डर उम्रिएको रहेछ । एक्लै हिँड्दा कसैले बलात्कार गर्देला वा एसिड छ्यापिदेला भन्ने पीरले गाँजेको रहेछ ।


एसिड आक्रमण र बलात्कारदेखि डराएका कति आमाबाबु होलान् समाजमा ? के त्यसको महसुस गर्न सकिएला र ? महसुस त्यस्तो एउटा मात्रै शब्द हो जसको न कुनै नाप हुन्छ न त कुनै तौल नै । सायद यस्तै भयावह स्थितिको सामना गर्नुपर्छ भविष्यमा भनेर सन्तान प्राप्तिमा छोराको चाहना राख्दिहुन् छोरीमान्छे ! छोरी जन्मिए पिँजडाको सुगा बनाउन खोज्ने र चाँडै अन्माइदिए आफ्नो कर्तब्य र सम्भावित घटनाको भयबाट पनि मुक्ति मिल्ने कारण हतारमा देखिन्छन् होला छोरीका आमाबाबु । भय र भ्रमसँग डराएर आफ्नो इच्छा र खुबीलाई कहिलेसम्म तिलान्जली दिइरहने छोरीमान्छेले ? भय र डरकै कारण कति छोरीमान्छेहरूले उनीहरूसँग भएका खुबी मार्नु परेको छ । छोरा मान्छेजस्तै खुल्लाखुल्ला भएर अगाडि बढ्न घरसमाजले छुट दिँदो हो त छोरीमान्छे पनि छोरा मान्छेकै तुलनामा निडर, साहसिक र सफल बन्थें होला !


एसिड आक्रमणका घटनाबारे सोचिरहँदा मनमा एउटा प्रश्न उब्जियो– पीडकले एसिड कहाँबाट ल्याउँछन् ? हाइड्रोक्लोरिक र सल्फुरिक एसिडजस्तो शीघ्र जलन गराउने क्षमतावान पदार्थ खुल्लमखुला बेच्न किन दिन्छ सरकार ? तमाम छोरीका तमाम आमाबुबाको प्रतिनिधित्व गर्दै यो प्रश्न सरकारका लागि । एसिड आक्रमणजस्तो जघन्य अपराधप्रति विमर्श गर्दै अनियन्त्रित बिक्री–वितरण बन्द गरियोस् । एसिड के कस्तो बेला उपलब्ध हुने भन्ने विषयमा कानुन बनाइ कडाइका साथ लागू गरियोस् ।

मीरा प्रसाईं

Page 19
कोसेली

ईश्वरको पतन

साधु फलाहारी थिए । चन्द्रमाको गतिअनुसार भोजन गर्थे । प्रतिपदामा एक थोक, द्वितीयामा दुई थोक, पूर्णिमामा पन्ध्र थोक र औंसीमा निराहार । एक दिन सन्ध्या आरतीपछि साधुले छ महिना फलफूल पनि नखाने घोषणा गरे ।
- केशव दाहाल

 

म सानै थिएँ । तामाको मुनाजस्तो । आमाको हात समाएर दलान, आँगन र करेसाबारी गर्थे । आमा मलाई उनकै लयमा संसारको कथा सुनाउँथिन् । उनैबाट मैले रूख चिनें । फूल चिनें । नदी, झर्ना र बादल चिनें । आमाले मलाई मेरो परिवेश, त्यसको सिमाना र व्यापकता बताइन् । आमा भन्थिन्, ‘यो चराचर जगत् ईश्वरको सृष्टि हो । तिमी ईश्वरको सृष्टि हौ । भँगेरा, जुरेली, गौंथली र धोबीचरा सबै नै ईश्वरका सृष्टि हुन् । यो आकाश र धर्ती ईश्वरको सृष्टि हो । हाम्रो अगाडि भीष्मपितामहझैं उभिएको मकालु हिमाल ईश्वरको सृष्टि हो ।’ आमा ईश्वरमाथि विश्वास गर्थिन् । त्यसैले मैले पनि ईश्वरलाई विश्वास गरें ।
म सात वर्षको थिएँ । त्यही वर्ष हाम्रो गाउँमा एक जना साधु आए । जो आफूलाई ब्रह्मचारी बताउँथे । उमेर ५५ वर्षजति हुनुपर्छ । उनको व्यक्तित्व प्रखर थियो । उनलाई जटाजुट, बिगुत र भष्मको शृंगार खुबै सुहाउँथ्यो । उनी गलामा रुद्राक्षका पाँचवटा माला लगाउँथे । नारीमा पनि रुद्राक्षकै माला बाँध्थे । कलेजी रङको बर्को ओढ्थे । तर खाली खुट्टा हिँड्थे । अनुहारको रोव, आँखाको तेज र रहस्यमय भावभंगिमाले म उनको ‘फ्यान’ भएँ । एक दिन मेरो सानो टाउको सुमसुम्याउँदै उनले भने, ‘यो बच्चा भविष्यमा भगवान्को निकै ठूलो भक्त बन्छ ।’ उनको वचन मेरा लागि त्यो समयकै सर्वाधिक अग्लो उत्प्रेरणा थियो । परिणाम म भक्त प्रह्लादजस्तो बन्दै गएँ । बिहान बेलुका भजन गर्थें । आमासँगै व्रत लिन्थें । मन्दिर जान्थें । यसरी म भगवान्को मात्र हैन ती साधुको समेत ठूलो भक्त भएँ ।


गाउँलेहरू साधुलाई ‘महाराज’ भनेर सम्बोधन गर्थे । उनै महाराजले एक साँझ हाम्रो गाउँमा सधैंका लागि बस्ने मनसाय व्यक्त गरे । सारा गाउँ प्रफुल्ल भयो । महाराजको आज्ञानुसार नै समस्त ग्रामवासीले मिलेर उनलाई सुन्दर कुटी बनाइदिए । जो हाम्रो घर नजिकै थियो । गैरीबारीमाथि, टारमा । नागढुंगाको आडैमा । दायाँतिर ठूलो ओखरको रूख थियो र बायाँतिर काइयोको । बीचमा बाँसको कुटी । बाँसको भित्तो, बाँसकै झ्यालढोका । फराकिलो आँगन, आँगनमा तुलसीको मठ । म कुटीको भव्यताले मोहित भए । साधु फलाहारी थिए । चन्द्रमाको गतिअनुसार भोजन गर्थे । प्रतिपदामा एकथोक, द्वितीयामा दुई थोक, पूर्णिमामा पन्ध्र थोक र औंसीमा निराहार । एक दिन, त्यो पौखे औंसीको दिन थियो । सन्ध्या आरतीपछि साधुले छ महिना फलफूल पनि नखाने घोषणा गरे । उनका लागि दूधको प्रबन्ध गरियो । गाउँलेहरूले कुटीको आडैमा सानो गोठ बनाए र दुईवटा गाई बाँधिदिए । दैनिक काममा सहयोग गर्न तीन जना मान्छे छानिए । कर्किनी भाउजू सेविका बनिन् । उनी बिधवा थिइन् । उनका पति दुई वर्षअघि आसममा कुयंर खेती लगाउने काम गर्दागर्दै बितेका थिए । न्यौपाने साइँला र कोइराला माइला सेवकमा नियुक्त भए ।


साधु महाराज मधुर लयमा कविता गुनगुनाउँथे । शार्दूलविक्रिडित छन्दमा । कहिले ईश्वरको कविता । कहिले गाउँको कविता । कहिले स्वर्ग र नर्कको कविता । उनको मनमोहक भाव र लय सुनेर भक्तजनहरू आह्लादित हुन्थे । उनी भन्थे, ‘तपाईंहरूको भूमि पवित्र छ । तपाईंहरूको मन पनि पवित्र छ । तपाईंहरूभित्र भगवान्को बास छ । तपाईंहरूभित्रको त्यही ईश्वरलाई जागृत गर्न म आएको हुँ ।’ कुराकानीमा उनी गाउँको रोचक रहस्य बताउँथे । भन्थे, ‘तपाईंहरूको गाउँ त्रिभुज आकारको छ । जसको तीन सुरमा तीनवटा देवस्थल छन् ।’ नभदै उत्तरमा सिद्धथान थियो । पश्चिममा नागेश्वर महादेवको गुफा र पूर्वमा सिद्धकाली मन्दिर । यस्तो थियो कि, साधुले सुनाउने प्रत्येक कथाहरू मेरालागि रसपूर्ण थिए । कथासँगै म रुन्थें । हाँस्थें । रमाउँथें । कहिले भावुक हुन्थें । कहिले चञ्चल । बडो आनन्दको समय थियो त्यो । त्यही समयको सिंहासन चढेर म सुदूर भविष्यको कल्पना गर्थें । मेरो कल्पनामा स्वयं मभित्र ईश्वर जागृत हुन्थे । निराकार, निरञ्जन । यो चराचर जगत्मा भगवान्को पवित्रता, कोमलता, शक्ति र सामर्थ्य बोध गरेर म मखलेल हुन्थें ।


यसरी नै आठ महिना बिते । दसैंको चहलपहल सुरु भयो । गाउँमा घर पोत्ने, बाटो सफा गर्ने र लिंगेपिङ हाल्ने काम थालियो । त्यो बेला हाम्रो स्कुल घटस्थापनादेखि नै बिदा हुन्थ्यो । एक दिन, घटस्थापनाको तेस्रो दिन हुनुपर्छ, आमाले मलाई कुटीमा लिपपोत गर्न रातोमाटो दिएर पठाइन् । सानो बोरामा रातोमाटो बाकेर म हानिँदै कुटीतिर लागें । कुटी सुनसान थियो । सबै चकमन्न । म सरासर पूजाकोठा, प्रवचनकक्ष, भान्सा हुँदै साधुको सयनकक्षसम्म पुगें । कोठा शान्त थियो, मात्र साधुको खाट चलायमान देखिन्थ्यो । खाटमा कर्किनी भाउजू र साधु थिए । अर्धनग्न । साधु कर्किनी भाउजूको छातिमा मडारिइरहेका । मलाई देख्नासाथ साधु खाटबाट उठे । भाउजू लुगा मिलाउन थालिन् । साधुले बिस्तारै भने, ‘यी देवी बिरामी परिछन्, त्यसैले झारफुक गरेको ।’ मैले धेरै कुरा बुझिनँ, न मलाई त्यस्ता कुरामा कुनै वास्ता थियो न जानकारी । त्यसपछि पनि दसैंमा म चारपटक कुटीतिर गएँ । संजोग कस्तो भने, चारैपटक साधु कर्किनी भाउजूलाई झारफुक गरिरहेका भेटिन्थे । मलाई फलफूल दिन्थे, त्यसैमा म रमाउँथें र फर्किन्थें ।
एक दिन पानी पँधेराबाट हल्ला सुरु भयो र गाउँभर फैलियो । हल्ला थियो, ‘कर्किनीले पेट बोकेको ।’ पेट बोक्नु भनेको के हो ? पेट कसरी बोक्छन् ? मलाई थाहा थिएन । तर धारा, बारी, खेत सबैतिर उखरमाउलो भएपछि मलाई लाग्यो पक्कै कुरा गडबड छ । कसको पेट हो ? को हो त्यो व्यभिचारी ? सर्वत्र यस्तै प्रश्नहरू सुनिन्थे । त्यो पातकीलाई कोर्रा हान्नुपर्छ । आक्रोश थियो जनजनमा । भाइटीकाको भोलिपल्ट कचहरी बस्ने भयो । राईबा प्रधानपञ्च थिए । उनी पनि आउने भए । कचहरी सुन्न हामी सबै उत्सुक थियौं । त्यसैले सबेरै म र मेरा दौंतरीहरू कुटीतिर लाग्यौं । गाउँका सबै भद्रभलाद्मी कुटीको आँगनमा जम्मा भैसकेका थिए । तर कस्तो अनौठो कि त्यो भीडमा साधु थिएनन् । डिलमा कर्किनी भाउजू थिइन् । विक्षिप्त । उनका आँखाबाट आँसु बगिरहेका थिए । ग्लानि, धोका र वेदनाले अनुहार सुन्निएको थियो । कुरा बुझ्दा थाहा भयो, साधुले राति नै चम्पट ठोकेछन् । कस्तो अचम्म ? ईश्वरको साधक यति धेरै निकृष्ट कसरी हुन सक्छ ? घटना यस्तो थियो कि मान्छेहरू आगो भए । गाउँको विश्वास आक्रोशमा फेरियो । गालीको वर्षा चल्यो । व्यभिचारी, पापी, नीच, पतित आदि । तीव्र आक्रोशमा प्रधानबा आफैंले कुटी भत्काउन सुरु गरे । एकै छिनमा सबै कुरा समाप्त भयो । र, त्यही दिन कुटीसँगै मेरो आस्थाको पहिलो ईश्वर धरमरायो ।

हाम्रो परिवार निकै धार्मिक थियो । बा हरेक बिहान गीता पाठ गर्थे । साँझ भजन गाउँथे । बा भन्थे, ‘गीता अमृत सागर हो’ । आमा साँझ नित्य आरती गर्थिन् । आमासँगै आरतीमा हामी छोराछोरीहरू पनि सहभागी हुन्थ्यौं । भजन गाउँदा बाको स्वर अत्यन्तै मधुर सुनिन्थ्यो । म त्यो स्वरको जादूमा लठ्ठ पर्थें । घरमा यस्तो वातावरण थियो कि तुलसीदासका कविताहरूको भावधारामा हामी ब्युँझिन्थ्यौं र निदाउँथ्यौं । प्रायश एकादशीमा हरिकीर्तन हुन्थ्यो । बा आमा दुवै प्रणामी, त्यसैले प्रत्येक कृष्णअष्टमीमा पारायण लाग्थ्यो । आमा आँखा चिम्लिएर सभक्ति प्राथर्ना गर्थिन् । उनी फुसफुसाउँदै भन्थिन्, ‘भगवान् परिवारमा सुख र शान्ति देऊ । रोग, दुःख र कष्ट नास होस् ।’ त्यो बेला लाग्थ्यो कि आमा साक्षात ईश्वरसंँग संवाद गर्दै छिन् ।


गाउँमा अनेक धार्मिक कार्य हुन्थे । सिद्धथानमा बालाचतुर्दशी मेला लाथ्यो । नागेश्वर महादेवको गुफामा माघेसंक्रान्ति मेला भरिन्थ्यो । चिंखुवाखोलाको ओडारमा संसारी पूजा हुन्थ्यो । हामी सकल परिवार त्यसमा सहभागी हुन्थ्यौं । म स्कुल जाँदा बर्खाको भेलमा अड्किएका कमिला उतार्दै हिँड्थें । न परेवा काटिन्थ्यो न त कीरा फट्यांग्रा नै मारिन्थ्यो । खेतमा आँचिला हान्दा गँड्यौला काटिन्थे, त्यस्तो बेला म अनेक ढंगले प्रायश्चित्त गर्थें । आँधी आउँदा र चट्याङ पर्दा म हर्दम भगवान्को नाम जप्थें । भगवान्प्रतिको अगाध आस्थाकै कारण हामीले सिद्धथानमा घण्टदान गरेका थियौं । मन्दिरमा पित्तलको गजूर चढाएका थियौं । बाले आफ्नो जेठो छोरोको पहिलो कमाइबाट मन्दिरमा टिनको छानो हाल्ने भाकल गरेका थिए । सपरिवार ढुक्क थियौं कि भगवान्को आर्शीवाद सधैंसधैं हाम्रो साथ रहनेछ ।

तर त्यस्तो भएन । एक दिन अनिष्ट हुनहुनाउँदै हाम्रो घरको धुरीमा चढ्यो र अपशकुनको विगुल फुक्यो । त्यो यस्तो खबर थियो कि निमेषमै बाले जतन गरेर हुर्काएको सपना उजाडियो । आमाले साँचेको अनन्त विश्वासमाथि पैरो गयो । भयो के भने, कुनै अनिष्टको संकेत नगरीकनै मेरो दाजु बेपत्ता भएको खबर आयो । ऊ राजनीतिक कार्यकर्ता थियो । त्यो यस्तो निर्मोही खबर थियो जसले परिवारको भोक, तिर्खा, थकान र फुर्ती हरेर लग्यो । बिजुली चम्किएजस्तो झिलिक्क भयो र धर्ती र आकाशमा अँध्यारो छायो । आमा विलौना गर्न थालिन् । बासँग आमालाई सम्झाउने कुनै शब्दहरू थिएनन् । बाले यति मात्र भने, ‘यो सबै दैवको खेल हो ।’ ‘हामीले के पाप गरेका थियौं र दैवले झेल गर्‍यो ?’ आमा चिच्याइन् । त्यो सबै यति धेरै हृदयविदारक थियो कि म रुन थालें । मलाई लाग्यो ईश्वर मैले सुनेजस्तो ज्ञानी, दयालु, चरित्रवान र भरोसायोग्य छैन । त्यो दिन, मेरो आँसुसँगै मेरो आस्थाको अर्को मन्दिर पनि ढल्यो ।

दाजु बेपत्ता भएपछी हाम्रो जीवनधारा नै फेरियो । घरमा श्राप परेजस्तो भयो । हामी बसाइ सर्‍यौं । त्यो बिहानको मलाई अझै सम्झना छ, रिमरिम उज्यालो नखस्दै हामीले पोकापन्तुरा कस्यौं । बा अघिल्लै दिनदेखि चुपचाप थिए । आमाका आँखामा आँसुको भेल थियो । बाले घरको मूलढोकामा ताला ढोके र अगाडि लागे । आमाले मेरो हात समाइन् । दिदीहरूले सानोसानो झोला बोके । त्योभन्दा अगाडि लामो यात्रा गर्दा बा सिद्धथानतिर फर्किएर प्रार्थना गर्थें । मंगलस्तोत्र गाउँथें । तर त्यो दिन उनले मन्दिरतिर हेर्दा पनि हेरेनन् । हामी धागो चुँडिएको चंगाजस्तो भयौं । यस्तो भयो कि भीरबाट झरेको ढुंगोजस्तो भयो हाम्रो जीवन । लड्दैपड्दै कता थामिन्छ थाहा छैन । यसरी हामी तरहरा आइपुग्यौं ।


भाडाको घर थियो । ठूलोघर, खेतबारी, गाईबस्तु, छरछिमेकी, गोठालाखेतालाबीच रमाउने हामी भाडाको दुई कोठामा थन्कियौं । ती दिनहरू निकै दुःखद थिए । बाआमा चौबीसै घण्टा शोकमा हुन्थे । हामी सानै थियौं र उनीहरूलाई सम्झाउने हामीसँग शब्दहरू थिएनन् । अगाडि मात्र अनिश्चित भविष्य छ, बाँकी सबै लुटियो भन्ने बोधले होला सायद बाआमा डराएका थिए । आफैंसँग । समयसँग । नाताकुटुम्बसँग । त्यसैले सधैं अतालिएजस्तो देखिन्थें । बिहान उठ्दा आमाका आँखा राता हुन्थे । जीउमा आलस्य देखिन्थ्यो । बाको अनुहारमा न जीवन थियो न आस्था थियो न त सपना ।


तर समय सधैं एउटै रहँदैन । यसैले होला, बिस्तारै बिस्तारै समयले हामीलाई पुनः समाल्दै लग्यो । बाआमाले सिन्का सिन्का जोडेर घर बनाए । घरमा सानो मन्दिर पुनः सजाइयो र अर्चना सुरु भयो । यसो भनौं हामीले भगवान्लाई माफ गर्‍यौं । अभाव त थियो नै तर आशाहरू जागृत भएका थिए । यसरी नै लगभग पन्ध्र वर्ष बिते । यी पन्ध्र वर्षमा फेरि जीवन आफ्नै लयमा फर्कियो र सबै कुरा नियमित बन्यो । तर यो सबै त्यतिबेला एक्कासि रोकियो जब बा बिरामी परे । सुरुमा उनका पाइलाहरू लरबराउँदै गए । बोली बिस्तारै लट्टिँदै गयो । यति चाँडो रोगले गाँज्यो, मानौं कि हामीले सोच्न र सम्हालिनै पाएनौं । बा ओछ्यान परे । खाना, बस्न, बाथरुम सबैसबै बाका लागि कष्ट बने । सहाराबिना बा चटपटाउन पनि नसक्ने भए । घरमा परिचित मान्छेहरू आउँदा उनका आँखाबाट आँसु झर्थे । हामीलाई थाहा थियो बा सबै कुरा बुझ्छन् । उनका रहरहरू आँखामा छचल्किन्थे । यस्तो लाग्थ्यो कि, बासँग उसरी नै भजन गाउने रहर छ । उसरी नै आफ्नो घरगोठ सुमसुम्याउने रहर छ । उसरी नै मान्छेसँग कुरा गर्ने रहर छ । सायद बा आफूले हिँडेको बाटोको कुरा गर्न चाहन्थे । तर शब्दहरू थिएनन् । सायद बा आफ्ना दौंतेरीहरूसँग आफूले बिताएका पुराना दिनहरू सम्झिन चाहन्थें । तर सम्झनामा लय थिएन । त्यो सबै आफ्नै आँखाले देखेको मैले ईश्वरलाई प्रश्न गरें, कुनै पाप नगरेका मेरा बा किन थला परे ? सधैं पूजापाठमा मंग्न मान्छेमाथि किन तिम्रो दृष्टि पुगेन प्रभु ? कथाहरूमा दयालु देखिने तिमी हाम्रा लागि किन यति धेरै निष्ठुरी भयौं ? तर ईश्वर बोलेन । बा झन्झन् गल्दै गए ।


यस्तैमा एक दिन आमाले भनिन्, ‘दाँत दुख्यो ।’ दाँत दुख्नु कति साधारण कुरा हो । तर त्यही साधारण कुराले बिस्तारै घरमा अर्को संकट थपिदियो । आमाको दाँत चेक जाँच गर्दै डाक्टरले भन्यो, ‘यो दाँत दुखेको हैन, क्यान्सरले समातेको हो ।’ आमाको मुखमा क्यान्सर देखियो । परिवारमा पुनः भुइँचालो गयो । आमालाई उपचारका लागि भरतपुर लैजान एक्बुलेन्स बोलाइयो । अर्को दिन मिरमिरेमै आँगनमा एम्बुलेन्स आइपुग्यो । जति बेला हामी एम्बुलेन्स चढ्दै थियौं, ठीक त्यही बेला बा लडे । बालाई उठाउन जाँदा मैले देखें उनका आँखामा आँसुका धारा थिए । तर ओठमा शब्दहरू थिएनन् । म र कालिका दुवैका लागि त्यो सायद सबैभन्दा ठूलो कष्टको क्षण थियो । हो, त्यही क्षण मलाई लाग्यो ईश्वर छैन । ईश्वर मिथ्या कुरा हो ।

अब म थोरै मेरी आमाका विषयमा बताउँछु । मेरी आमा संसारकै सबैभन्दा राम्री आमा हुन् । मलाई यस्तै लाग्थ्यो जब म बच्चा थिएँ । आमा बिहीबारे बजारबाट कटहर ल्याउँथिन् । मलाई आलु तारेर खुवाउँथिन् । आमाको पोल्टामा प्रायशः मिस्री हुन्थ्यो जो मलाई खुबै मन पर्थ्यो । बाले गाली गर्दा आमा मेरो पक्ष लाग्थिन् । मलाई थपथपाउँदै सुताउने र बिहान गुनगुनाउँदै उठाउने मेरी आमा मेरालागि सुखको अनन्त समुद्र थिइन् । म आमाको बास्ना आँखा चिम्लिएरै अनुभूति गर्थें । त्यो बास्ना, त्यो स्पर्श, त्यो ममता, त्यो श्वासप्रश्वास मेरालागि अमूल्य थिए । मैले आमालाई कहिले चिनें ? समय, दिन र घडीपला थाहा छैन । तर आमाको सम्झना आउँदा पसिनाले भिजेर नाकको टुप्पोसम्म झरेको सिन्दूर सम्झन्छु । म सम्झन्छु बिफरले खाएको अनुहारमा उज्याला धर्साहरू, केही फुस्रा आँखा, कालो र बाक्लो कपाल, निधारमा ठूलो टीका । म सम्झन्छु आमाले धारामा लुगा धुँदै गरेका ती पुराना क्षणहरू । म पानीमा खेल्दै हुन्छु र आमा नजिकै चौरमा लुगा सुकाउँदै हुन्छिन् । आमाले डोकोमा हालेर बोकेको लुगाको भारी र त्यसमाथि बसेको म आफैंलाई सम्झन्छु । म सम्झन्छु मेरी आमाका हातमा हर्दम छम्छम् बज्ने चुराहरू । नृत्यमग्न अप्सराका जस्ता सधैं चलायमान खुट्टाहरू । उनी निरन्तर काममा हुन्थिन् । हामी सुतेपछि सुत्थिन् । हामी नब्युँझिँदै उठ्थिन् । आमाका अनेक चित्र जब मेरो मनमा बतासझैं आउँछन्, मलाई लाग्छ आमा भनेको काख हो । आस हो । हाँसो हो । खुसी हो । आमा भनेको मनचिन्ते संसार हो । आमा छन् र नै यो संसार बस्नयोग्य छ । अन्यथा यो संसार कति धेरै उराठ हुन्थ्यो होला ?


भरतपुर अस्पतालमा अप्रेसन गरेर आमालाई भर्खर मात्र निकालिएको थियो । आमाको होस आउँदा म उनको अगाडि थिएँ । आमाले आँखा खोलेर सोधेको पहिलो प्रश्न थियो— के खायौ ? खाना खायौ ? मेरा आँखा भरिए । मनमा आमाकै बारेमा केही प्रश्न लहरझैं उठे । मायाको परिभाषा के हो ? थाहा छैन । आमाको माया कहाँ हुन्छ ? थाहा छैन । आमा किन आफ्ना सन्तानलाई यति धेरै माया गर्छन् ? थाहा छैन । आमा किन आफू भोकै बसेर सन्तानलाई खुवाउँछन् ? थाहा छैन । मलाई लाग्यो संसार भगवान्ले हैन, आमाको आशीर्वादले चल्छ ।


अस्ति मात्र, यो असोज पहिलो हप्ताको कुरा हो । घरमा दसैंको विषयमा सरसल्लाह हुँदै थियो । किनमेलको लिस्ट बन्दै थियो । आमाले भनिन्, ‘मन्दिरमा चढाउन एउटा झुल ल्याउनू । राजीको पाउदान पनि फेर्नुपर्छ ।’ मेरी आमा क्यान्सरलाई जितेर पुनः आफ्नै लयमा फर्किंदै थिइन् । उनी आफैं अनेक कष्टसँग जुधिरहन्थिन् । तर पनि सुन्दर साथको कुरा गर्दार् रमाउँथिन् र गोकुलधामका कविताहरू गुनगुनाउँथिन् । हो, त्यही रात सबै कुरा फेरि गडबड भयो । मानौं संगीतको लय बिग्रियो । सितारको तार टुट्यो र हाम्रो परिवारमा अर्को बज्र खस्यो । भयो के भने, आमा रातभर सुत्न सकिनन् । बोली बिग्रियो । होस हरायो । आमा परिचय, सम्बन्ध र स्वार्थको संसारबाट निस्किइन् र बेहोसीमा प्रवेश गरिन् । हामी रातभर सुतेनौं । बिहान अस्पताल लगियो । डाक्टरले भने आमामा ‘डिमेन्सिया’ को लक्षण देखियो । हामी फेरि थिलथिलो भयौं । हाम्रो जीवनको शान्त तलाउमा फेरि कसैले ढुंगा हान्यो ।
अस्पतालबाट आमालाई घर लगियो । स्वाभाविक छ मान्छेहरू आउने नै भए । सबैले सोध्ने प्रश्न उही हुन्थ्यो— मलाई चिन्नुहुन्छ ? उसलाई चिन्नुहुन्छ ? आदि इत्यादि । यस्तैमा एक जना छिमेकीले मलाई देखाएर सोधे— यो मान्छे को हो, चिन्नुहुन्छ ? आमाले भनिन्, ‘मेरो बूढो ।’ बस मेरो जमिन काम्यो । जब आफ्नी आमाले छोरालाई आफ्नो लोग्ने भनेर चिन्छन् तब के हुन्छ ? मेरा आँखाबाट आँसु झरे । मेरी आमा जीवनको कस्तो क्षणमा आइपुगिन् ? मैले आकाशलाई प्रश्न गरें । धर्तीलाई प्रश्न गरें । त्यो क्षण मलाई पूरापूर विश्वास भयो, ईश्वर छैन । ईश्वर मान्छेले निर्माण गरेको फगत एउटा भ्रम हो ।
आमाको कुरा सुनेर सबै स्तब्ध भएँ । मैले आमालाई हेर्न सकिनँ र आकाशतिर हेरें । आकाशमा शरदको कञ्चन सूर्य झलमल्ल थियो । मैले उसैलाई सोधें, हे सूर्यदेव भन के ईश्वरको पतन भयो ? सूर्य मौन थियो । आकाश मौन थियो । हावा मौन थियो । हो, त्यही क्षण मैले निष्कर्ष निकाले, ‘ईश्वरको पतन भयो ।’ ईश्वरको गरिमा, पवित्रता र शक्तिको स्खलन हाम्रो समयकै सबैभन्दा ठूलो दुर्घटना हो । प्रिय बन्धुहरू ! मेरो यो निष्कर्षका लागि मलाई
माफ गरिदिनुहोला ।
[email protected]

कोसेली

सााघुरो कोट

- स्वप्निल स्मृति

 

यसो उठाउाछु अभिवादनमा हात
दाहिने काखीमा उध्रिनु खोज्छ
सेवारो, नमस्कार गर्दा माननीयहरुलाई
कसैले पाता कसेझौ लाग्छ
सिरानी हालेर सुत्न पनि त पुग्दैन घााटी अररिन्छ
न जाडो छेक्छ न गर्मीमा बाहुलाले पसिना पुछ्न मिल्छ
तै पहिरिनै परेको छ बिहेमा, भोजमा, सार्वजनिक समारोहमा...

मलाई थाहा छ—
यसलाई बुन्ने कपडाको जन्म कुनै कारखानामा भएको हो
तर त्यसको गर्भाधान मैजस्तो यही धरतीमा भएको थियो
म जान्दछु—
यसलाई तुन्ने धागो र सियो कस्को हातमा छ !
एक–एक सम्झिल्याउादा
बजारमा नाङ्गै निस्कुाझौ रिस उठ्छ
तर जति नै रिसमा, जोशमा, लाजसरममा पनि
दुवै हात गोजीमा लुसुक्क छिराएर
बडो शालीन मुद्रामा
बााच्न त शान्त बााचेको छु
थाहा छैन यसरी कतिन्जेल बााच्न सक्ने हो !

मेरो सााघुरो कोट
मैले बााचेको लोकतन्त्र हो ।

Page 20
कोसेली

राजगोमन रहस्य

- करनबहादुर शाह,कुलबहादुर थापा

 

सर्पले पनि गुँड बनाउँछ भन्ने तपाईंलाई थाहा छ ? सामान्यतः सर्पका अधिकांश प्रजाति अर्काले बनाएका प्वालमा बस्छन् । लुक्न उपयोग गर्ने आश्रय आफैं बनाउने सरिसृपका प्रजाति नगन्य छन् । प्रजनन्को याममा फुल पार्न आफ्ना लागि चराजसरी नै गुँड बनाउने सर्प राजगोमन हो । विषालु सर्पका सूचीमा संसारमै घातकमध्ये अग्रणीमा पर्ने यो सर्प हाम्रै वरपर बस्छ । २० देखि ३० वटासम्म अण्डा पार्ने सर्पको यो प्रजाति नेपालमा तराईदेखि झन्डै २५ सय मिटरसम्मका भूभागमा पाइएको रेकर्ड छ । करिब ३५ वर्षअघि कास्कीको नौडाँडास्थित बाँझगुराँसको जंगलमा राजगोमन भेटिएको थियो । उक्त घटना सार्वजनिक हुनुअघिसम्म नेपालमा पनि सर्पको यो प्रजाति पाइनेबारे यकिन भइसकेको थिएन । सरिसृप अध्ययनका क्रममा उक्त क्षेत्रमा पुग्दा स्थानीय गाउँलेहरूले राजगोमनको आश्रयलाई अजिंगरको गुँड भनेर देखाएका थिए । गुँड बिगारिएको थियो, त्यसका फुटाइएका अण्डाहरूका बोक्रा हेरेर त्यहाँ राजगोमनकै बासस्थान हो भन्ने यकिन गरिएको थियो ।
स्थानीयले गुँड र त्यसमा बसेको सर्प देखेपछि मारेर २५ वटा अण्डालाई फुटाइदिएका रहेछन् । त्यसपछि झन्डै तीन दशकको अवधिमा नेपालमा राजगोमनको गुँड फेला परेको न कतैबाट सुनियो न त सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्नेहरूले कतै फेला पारेको उल्लेख गरेको पढ्न–सुन्न मिल्यो ।


विगत ४/५ वर्षदेखि राजगोमनको गुँड पाल्पा, कास्की, मकवानपुर, दोलखा र काठमाडौंलगायतका जिल्लाहरूमा फेला परेका छन् । मकवानपुरको कुलेखानी जंगलमा भेटिएका तीनवटा गुँड जोगाउन धेरै मिहिनेत गर्नुपरेको थियो । दुइटा गुँडका अण्डा स्थानीय गाउँलेले फुटाइदिएका थिए । हामीले स्थानीयलाई राजगोमनको विशेषताबारे जानकारी गराएका थियौं । त्यहाँका तीनवटा गुँडमा ७१ अण्डा रहेछन्, जसमा ५१ वटा अण्डाबाट
बच्चा निकाल्न सकियो भने बाँकी २१ वटा नष्ट गरिसकिएका थिए ।


दोलखाको जगात क्षेत्रमा पनि गत वर्ष यस्तै भएको थियो । त्यहाँ गौरीशंकर संरक्षण क्षेत्रका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले गुँडमाथि बसेको राजगोमनको फोटो हामीलाई पठाएर ‘कुन सर्प हो ?’ भनेर सोधेका थिए । हामीले ‘राजगोमन हो, गुँड बनाएर ओथारो बसेको अवस्था हो’ भनेर जवाफ दिनुका साथै उक्त क्षेत्रमा त्यसअघि सर्पको उक्त प्रजाति पाइएको अभिलेख नभएकाले जसरी पनि जोगाउनुपर्छ भन्ने सन्देश पठाएका थियौं । स्थानीयलाई उक्त सर्प र त्यो गुँडको विशेषताबारे जानकारी गराएर जोगाउन सकिने सल्लाह दिएका थियौं । हामो सल्लाहमा पाण्डेजी सहमत भए पनि परिणाम अनपेक्षित भयो । सुरुसुरुमा सर्पको गुँड अनौठो भन्दै हेर्नेको भीड लाग्यो । केही दिनपछि गुँडको नामनिसान थिएन ।


आजभोलि राजगोमनको गुँडलाई स्थानीयको कोपभाजनबाट जोगाउन धेरै गाह्रो छ । ‘एउटा सर्पले त हामीलाई टोकेर मार्ने सम्भावना रहन्छ भने यी अण्डाहरूबाट निस्केका बच्चाहरू त झन् हाम्रै गाउँमा आएर घरभित्रसमेत पसेर हामीलाई टोक्ने हुन्’ भन्ने भनाइ सर्वत्र सुनिन्छ, जुन सत्य होइन । मान्छेसँग सर्प डराउँछन् । आफूलाई आपत् परेर प्रतिरक्षा हेतु मात्रै सर्पले डस्ने हुन् । हामीले उनीहरूलाई बाधा नपारे उनीहरूले पनि हामीलाई केही गर्दैनन् ।

गत साउन १० मा सुन्दरीजलको पुवारगाउँमा पत्करको थुप्रोमाथि एउटा ठूलो सर्प केही दिनदेखि बसिराखेको छ भन्ने खबर र तस्बिर हामीले पायौँ । हेरेपछि त्यो राजगोमन हो र गुँड बनाएर बसेको भन्ने बुझ्न हामीलाई गाह्रो भएन । हामी शिवपुरी राष्ट्रिय निकुञ्जका अधिकारीहरूसँग त्यहाँ पुग्यौं । बाँसको गाँजमा पुरानो राजकुलोमाथि राजगोमनको गुँड रहेछ । पहिलोपटक हामी त्यहाँ पुग्दा गुँडमाथि राजगोमन बसिरहेको थियो । हामीले टाढैबाट उसलाई व्यवधान नपुग्ने गरी तस्बिर लियौँ । हामीले अवलोकन गरेको देखेर स्थानीय पनि आए । प्रश्नहरू सोध्न थाले । उनीहरूलाई हामी त्यो सर्प समात्न आएका हौं भन्ने भ्रम परेको रहेछ । ‘जसरी हुन्छ लिएर जानुहोस्’ भन्दै थिए । हामीले एक छिन त्यहाँ बसेर निकुञ्जका कर्मचारी र स्थानीयलाई सर्पको उक्त प्रजातिबारे धेरै चाखलाग्दा कुरा बतायौं, ताकि अन्यत्रजस्तै त्यहाँ पनि गुँड भत्काएर अण्डा फुटाउने काम नहोस् । सर्पको गुँड स्थानीय पवन खड्काको घरभन्दा माथि अन्दाजी १ सय ५० मिटरको दूरीमा थियो । त्यहाँसम्म पुग्न अत्यन्तै साँघुरो र अप्ठ्यारो गोरेटो बाटो मात्र थियो । अतः गुँड भएको ठाउँमा मान्छेहरू विरलै जान्थे । तर, राजगोमनको गुँड छ भन्ने थाहा पाएपछि त्यहाँ पनि दर्शनार्थीको घुइँचो लाग्न सुरु भएको थियो ।


हामी त्यहाँ बस्दै गर्दा जम्मा भएका गाउँलेले धेरै बेरसम्म फिर्न कुनै तरखर नदेखाएका कारण हामीले त्यहाँबाट झर्न लागेको नाटक गर्‍यौं । गुँडभित्रका अण्डा उनीहरूले नदेखुन् भन्ने हाम्रो चाहना थियो । सुरक्षाको दृष्टिले यो जरुरी पनि थियो । केही साथीहरू तल झर्न थाले । त्यहाँ होहल्लाका कारण सर्प पनि गुँड छाडेर अलि तल बाँसघारीभित्र पसेर टाउको मात्र देखाएर बस्यो । त्यसपछि गाउँले पनि तलतिर झरे । हामी त्यही मौकाको पर्खाइमा थियौँ । फटाफट गुँडको अध्ययनका लागि आवश्यक पर्ने तथ्यहरू अभिलेख गर्नतिर लाग्यौँ । गुँड बनाउन प्रयोग गरिएका सामग्री, गुँडको उचाइ, लम्बाइ र गोलाइ नापेर लेख्यौं । अनि सावधानीपूर्वक गुँड उघार्‍यौं । त्यहाँ २३ वटा सुन्दर अण्डा थिए । अण्डा सबै स्वस्थ थिए । पछिका अनुगमनमा आउँदा पुनः प्रत्येक अण्डाको अवस्थाको बारेमा जानकारी होस् भनेर प्रत्येकमा छुट्टाछुट्टै अंक लेख्यौँ । यसरी अंक लेख्दा एउटा अण्डामा तीन फरक–फरक ठाउँमा लेख्यौं, ताकि अन्य कुनै कारणले वा पछि बच्चा निस्कने बेलामा प्वाल पार्दा ती अंक नमेटियोस् । अनि अण्डाका तौल, लम्बाइ र चौडाइको पनि नाप लियौं । त्यसपछि, पुनः अण्डाहरूलाई गुँडमा राखी पोथी राजगोमनले राखेको जसरी नै राम्रोसँग छोपछाप पारिदियौं ।


त्यहाँबाट तल झरेर पवन खड्का दम्पतीसँग उक्त सर्प र गुँडको सुरक्षाबारे कुरा गर्‍यौं । उहाँलाई दिनको कमसेकम एकपटक त्यहाँ गएर अलि टाढैबाट हेरिदिन आग्रह गर्‍यौं । हामीले सबैलाई जति सकिन्छ सो क्षेत्रमा भएको राजगोमनको गुँडको कुरा गोप्य राख्न आग्रह गरेका थियौँ । तर त्यो त्यति सजिलो थिएन । चार–पाँच दिनको अन्तरालमै पत्रिकाहरूमा समाचार आउन थाले । एक कान दुई कान मैदान भनेझैँ टाढाटाढा जिल्लामा भएका साथीहरूले समेत फोन गरेर हामीलाई सोध्न थाले । सबैलाई हाम्रो एउटै उत्तर हुन्थ्यो ‘हुन त हो तर निकुञ्जका अधिकारीले त्यहाँ जान दिएका छैनन् ।’ यति भन्दाभन्दै पनि केहीले उल्टो बाटोबाट गएर समेत गुँडलाई हेर्न र फोटो लिन भ्याए । हामीलाई मुख्यतः तीन कुराको डर थियो । गुँड र गुँडभित्रका ती अण्डालाई स्थानीयले सर्पदंशको डरले फुटाइदिने पो हुन् कि ? ती अण्डाको महत्त्व थाहा पाएकाहरूले चोरेर लैजान्छन् कि ? वा गोहोरो, बँदेल, न्याउरीमुसो, मलसाँप्रोजस्ता जनावरले गुँड बिगारेर अण्डा खाइदिने हुन् कि ? उक्त क्षेत्रमा खोस्रिएका जमिन हेर्दा त्यहाँ बँदेल आउने गरेको प्रस्ट हुन्थ्यो ।


हामी काठमाडौंबाट प्रत्येक दुई हप्तामा उक्त स्थानमा गएर गुँडको अनुगमन गर्थ्यौं । निकुञ्जका अधिकारीहरू सधैं हामीसँगै हुन्थे । प्रत्येकपटक हामीले गुँड उघारेर अण्डाहरूको अवस्था जाँच गरी आवश्यक अन्य सबै तथ्यांक टिपोट गर्थ्यौं । हामी गत भदौ १२ मा त्यहाँ पुग्दा सधैँझैं गुँडमाथि पोथी राजगोमन बसेको देखिएन । कुरा बुझ्दै जाँदा ३/४ दिनअगाडि उसले गुँड छाडेकी रहिछ । यो सामान्य कुरा थियो । सामान्यतः अण्डाबाट जब बच्चाहरू निस्कने समय आउँछ तब माउ सर्प गुँड छाडेर जान्छन् । यसो गर्नुको कारण राजगोमनको सर्पहरू नै खाने बानी र आफू गुँड बनाएदेखि लामो समय केही नखाई बस्ने हुनाले भोकको झोंकमा आफ्नै बच्चा खाइएला भन्ने डर हो ।


यसपालि पनि हामीले उही तरिका दोहोर्‍यायौं । अनुगमनका क्रममा २३ वटामध्ये १७ नम्बरमा एउटा सानो प्वाल परेको भेटियो । त्यस प्वालबाट अण्डाभित्र हेर्दा अण्डाको पँहेलो भाग र बच्चा देखियो । यस्तो अवस्थामा बच्चा कि त मरेको हुन्छ वा नमरेको भए मर्ने सम्भावना अधिकतम रहन्छ । त्यसैले हामीले त्यो अण्डाभित्रको बच्चालाई बिस्तारै चलाएर हेर्‍यौं । यसो गर्दा बच्चा चलेको थाहा पायौं । अब त्यो अण्डालाई अरू अण्डाहरूसँगै राख्दा संक्रमण हुने वा किट/कमिला आकर्षित गर्ने सम्भावना भएकाले हामीले प्रयोगशाला ल्याएर राख्यौं । ल्याएको तेस्रो दिन त्यो बच्चा मरेको पाइयो । अण्डाबाट बाहिर निकालेर नाप लिँदा बच्चा ४१ सेमि लम्बाइको थियो ।


त्यहाँ हामी अन्तिमपटक भदौ १९ मा गयौं । अघिल्लोपटक जाँदा भेटिएको बिग्रिएको अण्डाभित्रको बच्चाको विकास अवस्था देखेर हामीले अबको एक हप्ता हाराहारीमा बच्चा निस्कन्छन् भन्ने बुझेका थियौं । गुँड उघारेर हेर्दा सबै अण्डाबाट बच्चा निस्किसकेका थिए । सबै गुँडभित्रै बसिराखेका देखिए । हामीले ती बच्चाहरूको नापतौल लिनुका साथै तस्बिर पनि लियौँ । त्यसपछि ती बच्चाहरूको वैज्ञानिक व्यवस्थापन गर्ने हेतु विशेष किसिमले बनाइएको कपडाको झोलामा राख्यौं र सुरक्षित स्थानमा लगेर छाडिदियौं । हामो त्यो अन्तिम अनुगमन यात्रामा निकुञ्जका अधिकारीहरूसहित नेपालका लागि अस्ट्रेलियाली राजदूत पिटर बड पनि गएका थिए । सर्पमा रुचि राख्ने उनी सबैभन्दा लामो विषालु सर्प, त्यसको गुँड र अण्डाबाट निस्किएका बच्चा प्रत्यक्ष देख्न पाउँदा निकै खुसी भएका थिए ।


त्यसको केही दिनपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको पानी मुहान क्षेत्रमा राजगोमनका दुइटा बच्चा भेटिएको सूचना निकुञ्जका अधिकारीहरूबाट पायौं । ती बच्चाहरूको लम्बाइ हेर्दा कोरलिएको हप्ता दिन जति भएको देखिन्थ्यो । हामीले एक दिन पूरै ती भेटिएको क्षेत्र आसपास खोजी गर्‍यौं तर गुँड फेला परेन । बरु अर्को एउटा बच्चा फेला पर्‍यो, जसको तस्बिर लिएर छाड्यौं । राजगोमनले गुँड बनाउने सुरुका समयमा जमिनमा वर्षे घाँसपात उम्रिएका हुँदैनन् र माउ सर्प पनि बसिराख्ने भएकाले गुँड फेला पार्न अलि सजिलो हुन्छ । वर्षा बढेसँगै घाँसपात बढ्दै जाने हुँदा गुँड छोपिँदै जान्छ र गुँड भेटाउन कठिन हुन्छ । यसको सार कुरा के हो भने जहाँ वयस्क भालेपोथी सर्प हुन्छन् त्यस क्षेत्रमा ती सर्पले गुँड बनाएर बच्चा अवश्य काढ्छन् । हामीले तिनका गुँड भेट्नु संयोग हो । जानिराख्नुपर्ने कुराचाहिँ के हो भने कुनै पनि विषालु सर्पको भर्खर जन्मेको बच्चा पनि आफ्ना आमाबाबुजत्तिकै विषालु हुन्छन् । यसकारण तिनलाई हेपेर जिस्क्याउने चलाउने गर्नुहुँदैन ।

राजगोमनबारे विभिन्न चाखलाग्दा तथ्य लेखिएका भेटिन्छन् । पुराना किताबहरूमा लेखिएको एउटा कुरा के थियो भने गुँड बनाउँदा यसले जमीनमा भएका सुक्खा पातपतिंगर पुच्छरको सहायताले जम्मा पार्छ । तर, हामीले गरेको अध्ययनमा यो प्रक्रिया अलि फरक देखिएको छ । राजगोमनले आफ्नो टाउकोदेखि पुच्छरसम्म शरीरको सम्पूर्ण लम्बाइ प्रयोग गरी गुँड बनाउने गरेको पाइयो, जुन पछिल्लो समय भारत र थाइल्यान्डलगायतमा गरिएका अवलोकनसँग मेल खान्छ । राजगोमन अत्यन्तै आक्रामक हुन्छन् भन्ने पुरातन मान्यताविपरीत हामीले यो सर्प निकै भलाद्मी र डसिहाल्ने प्रवृत्ति नभएको पायौं । नेपालमा अहिलेसम्म राजगोमन सर्पको डसाइबाट मानिसको मृत्यु भएको एउटा मात्र घटना हाम्रो जानकारीमा छ । उक्त घटना पनि मृतकले सो सर्प राजगोमन हो भन्ने पहिचान नगरी सर्पलाई पीडा हुने गरी समाएर खेलाउँदा भएको थियो ।


बासस्थान विनासका कारण सबै प्रकारका सरिसृपका प्रजाति संकटमा छन् । अझ देख्नेबित्तिकै मान्छेले मारिहाल्ने भएकाले सर्प निकै नै असुरक्षित छन् । राजगोमनलाई आईयूसीएनको रेड लिस्टमा सन् २०१० मै ‘असुरक्षित’ को दर्जामा राखिएको छ । यसले पनि अरू सर्प जसरी मुसा खाने भए पनि मुख्य आहारा सर्प नै हो । यसले अरू प्रजातिका सर्पको सिकार गर्छ । संसारमा हालसम्म राजगोमन १९.२ फिट लामो राजगोमन पाइएका छन् । अण्डाबाट निस्केर वयस्क हुन्जेल सर्पलाई अरू जीवजन्तुको सिकार हुनबाट बच्न निकै सास्ती छ । सरदर २० वटा अण्डाबाट निस्कने बच्चामध्ये वयस्क हुने अवस्थासम्म पुग्नेको संख्या आधा दर्जन हाराहारी मात्रै हुन्छ ।

कोसेली

फरक छनोट, झन् चर्चा

गत वर्ष प्रदान नगरिएको साहित्यको नोबेल यस वर्ष घोषणा हुनासाथ विवादमा आयो । कारण थियो, यसपालि पुरस्कृत गरिएका लेखकका अभिव्यक्ति ।
- बुद्धिसागर मरासिनी

 

राजनीतिक विचारका कारण विवादमा पर्ने कमै साहित्यकारमा पर्छन् अस्ट्रियाली लेखक पिटर हान्डके । युद्धअपराधी स्लोबोदान मिलोसेभिचको सन् २००६ मा गरिएको अन्त्येष्टि समारोहमा गरेको टिप्पणीपछि उनी निकै विवादमा परे । ‘बाल्कनको कसाही’ उपनामले समेत परिचित मिलोसेभिचको आदेशका कारण सन् १९९३ को बोस्निया युद्धमा १ लाख मानिसले ज्यान गुमाए । सर्बिया तथा युगोस्लाभियाका पूर्वराष्ट्रपति मिलोसेभिचलाई बोस्निया, क्रोएसिया र कोसोभोमा गरिएका क्रूर आक्रमण तथा यातनामा दोषी ठहर गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराधी घोषित गरेको थियो ।


मिलोसेभिचको अन्त्येष्टिका क्रममा उनले भनेका थिए, ‘मलाई सत्यता थाहा छैन । तर म हेर्छु, म सुन्छु, म अनुभव गर्छु, म स्मरण गर्छु । त्यसैले म आज यहाँ छु, युगोस्लाभिया, सर्बिया र स्लोबोदान मिलोसेभिचको नजिक ।’ अन्त्येष्टिमा बोल्दै उनले मिलोसेभिचले आफ्ना जनताको प्रतिरक्षा गरेको बताएका थिए । नाटक तथा उपन्यास सिर्जनामा क्रियाशील हान्डकेले जर्मनीको प्रतिष्ठित हेनरिच हेइन पुरस्कारका लागि गरिएको छनोटबारे प्रश्न उठेपछि रद्द गर्न माग गर्दै पत्रसमेत लेखे । पुरस्कारबारे स्वतन्त्र जुरीले निर्णय गर्ने भए पनि डुजलडर्फ सहरको काउन्सिलले अनुमोदन गर्नुपर्ने प्रावधान छ । डुजलडर्फको सिटी काउन्सिलले जुरीको निर्णयविरुद्ध भिटो लगाउने बताएपछि उनले आफूलार्ई पुरस्कारको आवश्यकता नरहेको भन्दै पत्र मेयरलाई लेखेका थिए ।


यसका साथै ‘केही क्षणका लागि ध्यान केन्द्रित गर्ने भएकाले साहित्यकारहरूका सिर्जना मार्ने’ भन्दै साहित्यका लागि नोबेल पुरस्कार उन्मूलन गर्नुपर्ने बताएका थिए । तर यिनै साहित्यकार हान्डकेलाई सन् २०१९ का लागि स्विडिस एकेडेमीले साहित्यको नोबेल पुरस्कार दिने घोषणापछि पक्ष–विपक्षमा विचार आइरहेका छन् । एकेडेमीले ‘हान्डकेको विचारलाई उनको सिर्जनशीलतासग जोडेर हेर्न नहुने’ भन्दै आफ्नो निर्णयको बचाउसमेत गरेको छ ।
७६ वर्षीया अस्ट्रियाली हान्डेकलाई ‘मानव अनुभवको विशिष्टता र परिधिको अन्वेषणका लागि विशेष योगदान पुर्‍याएका कारण’ यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कार छनोट समितिको भनाइ छ ।


एकेडेमीका अनुसार पुरस्कार ग्रहण गर्ने स्वीकार गरेपछि निर्णय लिइएको हो । हान्डकेका समर्थकहरूले ‘रुढीवादी सोचबाट अलग हान्डकेका विचारले स्वतन्त्र राजनीतिक चिन्तनसम्बन्धी सकारात्मक वादविवादलाई उजागर गर्न मद्दत पुर्‍याएका’ दाबी गर्छन् । तर पनि कतिपय साहित्यकारका विचारमा यो नोबेल समितिको इतिहासमा एक फरक छनोट हो । त्यसैगरी, यसै वर्ष घोषित सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोलिस साहित्यकार ओल्गा टोकारजुक जितेकी छन् । उनी पोल्यान्डको राजनीतिकी आलोचक तथा प्रखर वक्तासमेत हुन् ।


पोल्यान्डकी बेस्टसेलर टोकारजुक
आफ्नो छैटौं उपन्यास ‘फ्लाइट्स’ का लागि सन् २०१८ को बुकर अन्तर्राष्ट्रिय पुरस्कार जितेपछि भने निकै चर्चित बनेकी थिइन् । नोबेल समितिले ‘आप्रवासन र सांस्कृतिक संक्रमणको केन्द्रमा रहेका उनका लेखनले वास्तविकता उजागर गरेका’ जनाउँदै पुरस्कार दिने निर्णय गरेको हो । उनी खासगरी कल्पना दन्त्यकथासँग र मिथकलाई इतिहाससँग जोड्ने खुबीका लागि बेजोड मानिन्छिन् । सन् २०१८ को नोबेल पुरस्कारका लागि पनि उनको उपन्यास ‘फ्लाइट्स’ बाट जुरी प्रभावित भएका हुन् । पुस्तकमा उनले ‘समकालीन घुमन्ते मानिसको कथा’ लाई मनोवैज्ञानिक विम्बहरूसहित केलाएकी छन् ।


राजनीति तथा मनोविज्ञानका क्षेत्रमा समेत क्रियाशील टोकारजुक पोल्यान्डमा महिला अधिकारकर्मी तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा समेत उत्तिकै जागर चलाउँछिन् । उनले आफूले मानिसको सोचको दायर बढाउन, नयाँ दृष्टिकोण अघि सार्न र विभिन्न परिस्थितिको विश्लेषण गर्न र नयाँ कोण विकसित गर्न सघाउने उद्देश्यले साहित्य सिर्जनामा लागेको बताउँछिन् । उनी भन्छिन्, ‘म पाठकलाई दुविधामा पार्न निकै मन पराउँछु ।’स्विडिस एकेडेमीका सदस्यसँग सम्बन्धित एक विवादास्पद यौनकाण्डका कारण सन् २०१८ का लागि साहित्यतर्फको नोबेल पुरस्कार घोषणा स्थगित गरिएको थियो । एकेडेमीका सचिव म्याट्स माल्मले गतसाता स्टकहोममा पुरस्कार विजेता घोषणा गरेका हुन् ।आगामी डिसेम्बर १० मा स्टकहोममा हुने विशेष समारोहमा विजेताद्वयलाई जनही ९ लाख १८ हजार अमेरिकी डलर तथा स्वर्ण पदक प्रदान गरिनेछ । प्रारम्भिक छनोटमा ८ जनामध्ये दुईलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
(एजेन्सीको सहयोगमा ।)

Page 21
कोसेली

'वाइल्ड' शुक्लाफाँटा

आरके अदीप्त गिरी
- कान्तिपुर संवाददाता

नेपालको एक मात्र बाह्रसिंगा भूमि— शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज । सुन्दर सुदूरपश्चिमको दक्षिण–पश्चिमी कुनामा अवस्थित । शुक्लाफाँटाको विशाल छातीमा चरिरहेका बाह्रसिंगाको दृश्य पर्यटकहरूका लागि अविस्मरणीय त छ नै, उत्तिकै सुन्दर पनि । उसो त यहाँ बाह्रसिंगा मात्रै छैनन् । दुर्लभ पाटेबाघ, गैंडा, हात्ती, कृष्णसार, सालक, नीलगाई, चितुवा, चित्तल, लगुना, रतुवा, बँदेल आदि थुप्रै संरक्षित जीव छन् । यी विविधामय जैविकी र प्रकृतिले गर्दा यहाँ आउने पर्यटकले एकसाथ अनेक आनन्दानुभूति सँगाल्न सक्छन् ।


त्यस्तै शुक्लाफाँटाको विशाल जंगलले अनेकन किसिमका चराचुरुंगीलाई समेत आश्रय दिएको छ । यसको कञ्चन आकाशमाथि आफ्ना बहुरंगी पखेटाहरू फैलाएर कावा खाइरहेका ती चराहरूको दृश्य अझ आनन्ददायी हुन्छ । हर्ष र उमंगले त्यसै पुलकित भइदिन्छ मन ।घना जंगलबीच आँगनजस्तो यस ठाउँमा कतैबाट अचानक देखापर्छ दुर्लभ पाटेबाघ । तब अघिसम्म निर्धक्क रमाइरहेको मनमा हल्का डर पनि पस्छ । गैंडाहरूको मस्तीले फेरि मन हर्न थाल्छ । हात्तीहरूको लम्काइले हाम्रो आफ्नै जीवनको पदचाप सम्झना हुन्छ । यी यावत् दृश्य–संयोजनले लाग्छ, शुक्लाफाँटा विचित्र छ । मानौँ कि प्रकृतिको कलाकारिताले सुसज्जित ।कोसीटप्पुपछिको ‘चरा–हब’ का रूपमा पनि परिचित छ शुक्लाफाँटा । दुर्लभ पन्छी खरमजुर यहाँ देख्न पाइन्छ । मयूर, किंगफिसर, सारस, सिमतित्रा, विश्वमै दुर्लभ मानिएको लेसर भुँडीफोरलगायत करिब ४ सय २४ प्रजातिका पन्छीहरू यहाँ छन् ।

शुक्लाफाँटाको आकार कति हो ? तथ्यांक बोल्छ— ३ सय ५ वर्गकिलोमिटर । सुरुमा (विसं २०२६) ‘शाही सिकार आरक्ष’ को रूपमा स्थापित शुक्लाफाँटालाई पछि (विसं २०३१) ‘वन्यजन्तु आरक्ष’ बनाइयो । लामो समय पर्यटकहरूका लागि यहाँ सहज पहुँच थिएन । विसं २०७३ मा सरकारले यहाँको पर्यापर्यटन विकासका लागि भनेर राष्ट्रिय निकुञ्ज घोषणा गर्‍यो । त्यसपछि नै यसको पर्यटकीय विकासमा समेत ध्यान दिन थालिएको हो ।
निकुञ्ज आसपासको २४३.५ वर्ग किमि क्षेत्रलाई विसं २०६१ मा मध्यवर्ती क्षेत्र घोषणा गरियो । त्यसपछि सहभागितामूलक संरक्षण, विकास र आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएका छन् ।शुक्लाफाँटाको बीचोबीचमा छ— हरियो विशाल घाँसैमैदान । उपत्यकाझैं लाग्ने करिब ५५ वर्ग किमि क्षेत्रफलमा फैलिएको हरित घाँसेभूमि यहाँको अर्को आकर्षण हो । जहाँ बाह्रसिंगा निर्धक्क चरिरहेका देखिन्छन् । यही घाँसेभूमि हो उनीहरूको बासस्थान र आहारा क्षेत्र । एसियाकै ठूला घाँसेमैदानमध्ये यसलाई समेत चित्रित गरिएको पाइन्छ । बाह्रसिंगालगायत जैविक विविधता र वन सम्पदाको अध्ययन गर्न चाहनेहरूका लागि यो निकुञ्ज एउटा खुला विश्वविद्यालय हो ।

शुक्लाफाँटाको अर्को महत्त्वपूर्ण विशेषता छ— सिमसारको । यसभित्र थुप्रै सिमसार क्षेत्र छन् । सिमसार गैंडाको प्रमुख बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएका गैंडाहरूले सिमसार क्षेत्र पाएरै यहाँ सहज जीवन बिताइरहेका छन् । डेढ दर्जन हाराहारी रहेका गैँडाको संख्या पनि बर्सेनि बढ्दो छ ।सन् २०१४ को वन्यजन्तु गणनाअनुसार यहाँ २३ सयको संख्यामा बाह्रसिंगा छन् । अहिले अनुमान गर्दा पनि त्यो झुन्ड सयौँको संख्यामा वृद्धि भएको हुन सक्छ ।भारतीय वन्यजन्तु आरक्षण ‘लग्गाभग्गा’ सँगै पाखुरी जोडेसरी जोडिएको छ यो । सीमाले निकुञ्ज छेक्न नसक्ने रहेछ । त्यसैले पनि शुक्लाफाँटा दुईदेशीय ‘जंगल हब’ बनेको छ । जनावरहरूलाई सिमानाले असर गर्दै गर्दैन । तिनीहरू बिनाबाधा सीमा वारपार गर्छन् ।
तर, बाह्रसिंगा भने भारतीय जंगलमा पाइँदैन । शुक्लाफाँटामा रहेको घाँसे मैदान नै उनीहरूको चरिचरन एवं बासस्थान भएकाले यसै वरिपरि रम्ने गर्छ । पहिलेपहिले भारतीय जंगलमा धेरैजसो बास बस्न रुचाउने हात्तीहरूको झुन्ड पनि अहिले यहाँको सहजताका कारण शुक्लाफाँटामै रमाउन थालेका छन् ।
शुक्लाफाँटाको मुख्य विशेषता बाह्रसिंगाका आफ्नै केही गजब विशेषता छन् । यसले समय–ऋतुअनुसार आफ्नो शरीरको रङ परिवर्तन गर्छ । प्रत्येक दुई वर्षको अन्तरालमा आफ्ना सिङहरू फेर्ने गर्छ । यो रहस्यमय विशेषता वैज्ञानिक खोज र अनुसन्धानको विषय हो ।


बाह्रसिंगा सिङ भएको ‘स्पोटेड डियर’ हो भन्ने धेरैको बुझाइ हुन सक्छ । तर, बाह्रसिंगा विश्वमै दुर्लभ मानिएको फरक प्रजातिको जनावर हो । यसबारे गलत बुझाइलाई चिर्न मात्र सक्ने हो भने पनि शुक्लाफाँटालाई बाह्रसिंगाको हबका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिन्छ ।



कसरी अवलोकन गर्ने ? मचानमा बसेर मज्जाले अवलोकन गर्न सकिन्छ । शुक्लाफाँटाको छातीमा रमाइरहेका ती चुरुंगी र जनावरलाई सहजै अवलोकन गर्न सकिने व्यवस्था निकुञ्जले नै मिलाइदिएको त्यहाँ भेटिएका आरक्षण अधिकृत लक्ष्मण पौडेलले बताए । अग्लो मचानमा चढेर आँखाले भ्याएसम्म वन्य जीवनको अवलोकन गर्दै रमाउन पाइन्छ ।


सफारी सोखिनहरूका लागि पनि यो उपयुक्त गन्तव्य हो । नेपालकै सर्वाधिक लामो ‘जंगल जिप सफारी’ यहाँको अर्को विशेषता हो । हात्ती सफारीको पनि यहाँ राम्रो व्यवस्था छ । यी दुवैको प्रयोग गर्न नचाहनेले भरपर्दो गाइड लिएर ‘जंगल वाक’ मा निस्कन पनि सक्छन् । आफ्नै निजी सवारी प्रयोग गर्न चाहनेले पनि निकुञ्जका निश्चित सर्त स्विकारेर प्रवेश गर्न सक्छन् । माघदेखि चैत, वैशाख–जेठलगायतका महिनाहरू यहाँ भ्रमणका लागि उपयुक्त मानिन्छ ।
[email protected]/fb.com

Page 22
कोसेली

दोस्रो हाफमा पंकज

- कान्तिपुर संवाददाता

निम्न मध्यमवर्गका धेरै पिताजस्तै पंकज त्रिपाठीका किसान पिता पनि चाहन्थे, छोरो डाक्टर बनोस् । धेरै पैसा कमाओस् । सुखी र सम्पन्न जीवन बिताओस् । आफ्नो जस्तो दुखी किसानको जीवन छोराले भोग्नु नपरोस् । सबैका बाबु आमाको इच्छा पूरा हुने भए संसारमा कुनचाहिँ छोराछोरीले पो दुःख भोग्नुपर्ने थियो र ! पंकजको जीवनमा आफ्नो पिताले भन्दा बढी दुःख पाउनु लेखिएको थियो । त्यसैले उनको मनमा डाक्टरी चढेन ।


पटनामा कलेज त सुरु भयो होटल म्यानेजमेन्टको । साथै सुरु भयो छात्र राजनीति । पुरेतका छोरा पंकज लागे, बीजेपीको संगठनमा । नब्बेको दशकको छात्र राजनीति चर्को थियो । पंकज पनि चर्कै निस्किए । हडतालको नेतृत्व गर्न थाले । र, थुनामा पुगे । बिस्तारै राजनीति बेस्वादको लाग्न थाल्यो । मनमा शान्ति हुन छोड्यो । ‘यस्तै मन भड्किइरहेका बेला एक दिन म नाटक हेर्न पुगें,’ पंकज भन्छन्, ‘त्यस दिन बल्ल महसुस भयो मलाई सबभन्दा आनन्द त नाटकमा पो हुने रहेछ ।’ त्यसपछि उनी नियमित नाटकका दर्शक हुनथाले । पटनामा ६ वर्ष पंकजको नाटकगिरी चल्यो । ‘एक दिन एउटा अखबारमा मैले अभिनय गरेको नाटकबारे लेखिएको थियो । त्यसमा मैले चोरको भूमिका गरेको थिएँ । मेरोबारे एक लाइन थियो— यो कलाकारमा केही सम्भावना छ । पत्रिकाले समेत लेखेपछि त म पछि हट्ने कुरै थिएन,’ उनले भनेका छन् ।
पटनाको गाउँमा छँदा चाडपर्वमा केटी बनेर नाच्ने पंकज बिस्तारै नाटकको दुनियाँतिर लम्किन थाले । केही नाटकमा अभिनय गरेपछि पटनामा मन अडेन । अनि लागे, २००१ मा दिल्ली– नेसनल स्कुल अफ ड्रामामा अभिनय पढ्न । २००४ मा यहाँबाट ग्र्याजुएट गरेपछि नाटक गर्न पटना फर्किए । केही समयमा थाहा भयो, यहाँ नाटक गरेर बाँच्न सकिन्न । यसका लागि एउटै ठाउँ थियो— बलिउड, मुम्बई ।


‘म अक्टुबर १६ मा दिल्लीबाट ४६ हजार रुपैयाँ बोकेर मुम्बई गएको थिएँ, त्यसै वर्ष डिसेम्बर २५ मा मेरो गोजीमा जम्मा १० रुपैयाँ बाँकी थियो,’ उनले एउटा अन्तर्वार्तामा भनेका छन् । त्यसै वर्ष उनी अभिषेक बच्चनको फिल्म ‘रन’ मा सानो भूमिकामा देखिए । यसको १५ वर्षमा त्रिपाठी अहिले नयाँ बलिउडमा ‘डिजिटल किङ’ बन्दै छन् । 

होटल म्यानेजमेन्टको पढाइ सकेपछि काम सुरु भयो, पटनाको होटल मौर्यमा । किचनको जिम्मा थियो । नाटक र फिल्मको चस्का चढिसकेको थियो । बिहारकै एक गाउँबाट मुम्बई पुगेर स्टार बनेका मनोज बाजपेयी थिए प्रेरणाका स्रोत । ससाना भूमिकामा अभिनय गर्दै १९९८ को ‘सत्या’ बाट रातारात स्टार बनेका बाजपेयी पटना आइजाइ गरिरहन्थे । एक दिन कसैले सुनायो— तेरो मनोज बाजपेयी यही होटलमा आएर बसेको छ त !


‘उनले कुनै पनि कुरा मगाए भने प्लिज मलाई पठाइदेऊ,’ उनले किचन विभागमा अर्जी हाले । तर, मौका मिलेन । दुई दिन बसेर बाजपेयी हिँडे । स्टोरको एउटा केटाले भन्यो, ‘तेरो बाजपेयीले चप्पल छोडर गएछ ।’ उनले बिन्ती बिसाए, ‘स्टोरमा राखेर यो चप्पल तिमीहरूले के गर्छौं ? मलाई देऊ । म त्यसलाई रामको खराउ जसरी राख्नेछु ।’ पंकजमा भरतको रूप प्रकट भयो । स्टोरको केटाले उनको भक्ति देखेर चप्पल दियो । ‘मलाई त्यस दिन ठूलो खजाना प्राप्त गरेजस्तो लाग्यो,’ पंकज भन्छन् ।


हालै ‘कपिल शर्मा सो’ मा हिन्दीका प्रसिद्ध कवि डा. कुमार विश्वासको कवितासंग्रह विमोचन गर्न मनोज वाजपेयीसँगै पंकज पनि आए । यो सोमा फेरि एकपटक मनोज बाजपेयीको चप्पलको किस्सा चल्यो । मनोजले भने, ‘ग्यांग्स अफ वासेपुरको सुटिङका बेला एक दिन पंकज मेरो छेउमा आयो र भन्यो— पटना मौर्यमा तपाईंको चप्पल हराएको याद छ ? मैले बिर्सिइसकेको थिएँ । उसैले भन्यो त्यो चप्पल मैले राखेको थिएँ ।’ सोमा यो कुरा चल्दा पंकज निकै भावुकसमेत भए । अनुराग कश्यपको ‘ग्यांग्स अफ वासेपुर’ (२०१२) मा सुल्तान नामक कसाहीको चरित्रमा देखिएपछि पंकज दर्शकको नजरमा परे । यसका लागि उनको अडिसन मात्रै ८ घण्टा चलेको थियो । नील बट्टे सन्नाटा, मसान, फुर्के, अनारकली अफ आरा, गुणगाव, बरेलीकी बर्फी, न्युटन, स्त्री र सुपर ३० जस्ता फिल्मले पंकजलाई बलिउडमा स्थापित गराए । ‘न्युटन’ का लागि त उनले राष्ट्रिय पुरस्कारसमेत पाए । ‘सिक्रेड गेम्स’ र ‘मिर्जापुर’ जस्ता वेब सिरिजले उनलाई डिजिटल दुनियाँको पनि स्टार बनाइदिएका छन् ।


‘कुनै बेला थियो म आफ्नो फोन घरमा फोनको सबभन्दा राम्रो नेटवर्क लाग्ने ठाउँमा राख्थें । मलाई लाग्थ्यो कुनै कास्टिङ निर्देशक वा सहायक निर्देशकहरूको फोन आइहाल्ला र मेरो फोन नलाग्ला । कैयौं दिनसम्म फोन त्यहीं हुन्थ्यो तर एकपटक पनि बज्थेन,’ उनले टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा भनेका छन्, ‘अहिले मेरो फोन यति बज्छ कि म उठाउन सक्दिनँ ।’ साथीहरूले बलिउडमा काम गर्न बम्बई बोलाउँदा पंकजले एउटा रणनीति बनाएका थिए— बाँच्नका लागि ससानाजस्ता भूमिका आउँछन्, सबैमा अभिनय गर्ने । ‘म अभिनय गर्न सक्थें, पढेको पनि थिएँ । मैले अभिनयलाई नै करिअर बनाउने निर्णय गरेपछि यसले मलाई बचाउनु पनि त पर्‍यो । मेरा लागि बाँच्नु पहिलो कुरा हो, अभिनय दोस्रो । तपाईं जीवित रहे न कला देखाउन सक्नुहुन्छ । तपाईं नै रहनुभएन भने केको कला ?’ उनले भन्ने गरेका छन् । यही नीतिअन्तर्गत उनले ‘रन’, ‘अपहरण’ र ‘ओमकारा’ जस्ता फिल्ममा एक दुई दृश्यमा अभिनय गरे । यी सबै चर्चित र सफल फिल्म थिए । तर, यिनको क्रेडिट टाइटलमा उनको नामसमेत थिएन । तर, त्यही सानो भूमिकाबाट आएको पैसाले उनी भाडा तिर्थे । ‘मुम्बई आएको पहिलो वर्ष मेरो गोजीमा श्रीमतीको जन्मदिनमा केक वा गिफ्ट किन्ने पैसा थिएन । त्यसै दिन मैले प्रण गरेको थिएँ, पहिला बाँच्न सक्ने बन्छु, त्यसपछि बल्ल कला देखाउनतिर लाग्छु ।’ यस्ता ससाना भूमिकाले बचाउँदै आएको पंकजले आठ वर्षपछि बल्ल ‘ग्यांग्स अफ वासेपुर’ पाएका थिए । यो फिल्मले भने उनलाई स्टार बनाउने बाटोमा पुर्‍याइदियो ।


स्टार बने पनि पंकज आफ्नो पुरानै शैलीमा कायम छन् । उनको कुनै प्रचार संयन्त्र छैन । उनी सबै स्क्रिप्ट आफैं पढ्छन् । निर्देशक र कास्टिङ निर्देशकसँग आफैं मिटिङ गर्छन् । दुई वर्षअघि समाचार संस्था रोयटर्सलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘बलिउड खासमा कुवाका भ्यागुताहरूले भरिएको छ । यिनका लागि संसार यही मुम्बई सहर र यहींको मिडिया हो । पेज थ्रीमा जसको फोटो धेरै छापियो त्यही सफल हो भन्ने यिनलाई लाग्छ । मिडिया र प्रचार हेर्नका लागि सबैले मान्छे राखेका हुन्छन्, तिनले जे सुनाउँछन् स्टारले त्यही पत्याउँछन् । म यस्ता कुरामा विश्वास गर्दिनँ । संसार धेरै ठूलो छ । मेरा प्रशंसक मुम्बईमा मात्र छैनन् । राजस्थानमा छन् । भारतबाहिर नेपालमा पनि मेरा निकै प्रशंसक छन् । म ती दर्शकलाई ध्यानमा राख्छु, जो मेरो पहुँचभन्दा पर छन् तर मेरो फिल्मको नजिक छन् ।’


५५ वर्षको हाराहारी उमेरमा रहेका तीन खान, अजय देवगन र अक्षयकुमारको दबदबा रहेको बलिउडमा ४२ वर्षीय पंकज हिरो हिरोइनका बाबुको भूमिका गरिरहेका छन् । तर, उनलाई यसमा आपत्ति छैन । ‘म कुन चरित्रमा छु भन्ने महत्त्वपूर्ण होइन, अभिनेताका रूपमा मैले त्यसलाई कत्तिको विश्वसनीय र रोचक बनाउन सकें भन्ने महत्त्वपूर्ण हो । म राम्रो अभिनेता हो कि होइन भन्ने कुरा मैले पाउने भूमिकाले होइन मैले त्यसलाई न्याय गर्न सक्ने क्षमताले निर्धारण गर्छ,’ उनी भन्छन् ।


मनोज बाजपेयी र इरफान खानको सफलतापछि बलिउड अहिले राम्रो अभिनय गर्ने औसत ‘लुक्स’ का अभिनेताहरूप्रति पनि आकर्षित छ । यसैको फलस्वरूप नवाजुद्धिन सिद्दिकी, केके मेनन, सञ्जय मिश्रा र पंकज त्रिपाठीजस्ता अभिनेताहरू बलिउडमा स्टार भइरहेका छन् । हुन त असी र नब्बेको 
दशकमा पनि नसिरुद्धिन शाह, ओम पुरी, पंकज कपुरजस्ता अभिनेताहरू थिए । तर, उनीहरू मुख्यतः समानान्तर सिनेमामा मात्र देखिन्थे । अहिले भने त्यो अवस्था छैन । धर्मा प्रोडक्सनको ‘ड्राइभ’, कंगना रनावतको ‘पंगा’, इरफान खानसँग ‘अंग्रेजी मिडियम’ र कपिल देवको बायोग्राफी ‘८३’ लगायतमा पंकज देखिदैछन् ।


पंकज त्रिपाठी अभिनयलाई सिक्नुपर्ने कुरा मान्छन् । ‘तपाईंमा केही खुबी छ भने पनि त्यसलाई परिस्कार गर्दा झन् राम्रो नि । कोही प्यासनले मात्र डाक्टर वा इन्जिनियर बन्न सक्दैन । भावना वा आवेग/संवेगको सिर्जना जीवनमा हुन्छ । अभिनेताले त्यसको पुनःसिर्जन गर्ने हो । यसका लागि थोरै प्रशिक्षण आवश्यक हुन्छ,’ उनले द हिन्दुसँगको अन्तर्वार्तामा भनेका छन् ।


पंकजका केही ‘स्वप्न भूमिका’ छन्, जसमा उनी अभिनय गर्न चाहन्छन् । साहित्यानुरागी पंकजको रोजाइका ती भूमिका हुन् फणिश्वरनाथ रेणुको कथा ‘मारे गए गुलफाम’ र श्रीलाल शुक्लको उपन्यास ‘रागदरबारी’ का पात्र । मारे गए गुलफाममाथि भने यसअघि नै फिल्म बनिसकेको छ । सन् १९५७ मै कवि/गीतकार शैलेन्द्रले यो कथामाथि ‘तिसरी कसम’ नाम फिल्म निर्माण गरेका थिए । वासु भट्टाचार्यले निर्देशन गरेको यो फिल्ममा राजकपुरले हिरामनको भूमिकामा अभिनय गरेका थिए भने वहिदा रहमानले हिराबाईको ।
–एजेन्सी

कोसेली

गहन विषय, छिपछिपे लेखाइ

- नारायणी देवकोटा

 

चार दशकदेखि मुक्तक, कविता, कथामा निरन्तर कलम चलाइरहेकी उषा शेरचनको पहिलो उपन्यास ‘आधि’ हालै बजारमा आएको छ । उनको उपन्यास भन्दा मलाई लागिरहेको थियो, ‘थकाली, थाकखोला, पोखरेली समाजको कुरा आउला ।’ वा मूलधार भनिएको नेपाली साहित्यभन्दा अलि फरक आउला । मेरो यो अपेक्षा सायद उनकी भाउजू यशोकान्ति भट्टचनले निरन्तर उठाउँदै आएको जनजाति महिलाका सवाललाई नजिकबाट सुनिरहेर पनि जागृत भएको होला ।
उपन्यासको भूमिकामा कुनै कलेज पढाइरहेकी महिलाले आफू बलात्कारमा परेको कहानी सुनाएको कुराले उपन्यास लेख्न उत्प्रेरित गरेको उनले उल्लेख गरेकी छन् । उपन्यासमा भित्र पसेपछि भने पूरै ठकुरी पाराको ‘आइसियोस् गइसियोस्’ भन्ने भाषाको अत्यधिक प्रयोगले यो कथा मूलधारभन्दा पर जाने छाँटकाँट ल्याउँदैन । उपन्यास सहरिया मध्यमवर्गीय परिवेशमा घुम्छ, ठ्याक्कै यही जातिको कुरा नभने पनि चालचलन लवजमा ठकुरी देखिन्छ ।
हिंसामा परेकी केटीले आफ्नो घर छोड्नुपरेको बाध्यताबाट उपन्यास सुरु हुन्छ । स्नातकोत्तरको पढाइ तयारी गरिरहेकी अन्तरमुखी स्वभावकी युवती जो साहित्यमा गम्भीर लगाव राख्छे उसले कुनै युवकले पठाएको प्रेमपत्रको भरमा विवाहका लागि भागेर घरबाट हिँडेको कुरा त्यति सुहाउँदो लाग्दैन । हुन त उपन्यास हो, लेखकको कल्पनाको उडान पनि होला तर पढ्दै गर्दा मलाई लागिरहेको कुरा लेखकले उल्लेख गरेको तहको पढाइ र लगाव भएकी युवती स्वतन्त्र आफ्नो क्षमताको भरमा उभिन प्रयास पनि गर्थी कि ? आफूलाई पटक–पटक बलात्कार गरिरहेको काकाविरुद्ध प्रहरीमा मुद्दा मामिला गर्न जान्थी कि ? महिलाको अधिकारका लागि काम गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहयोग पो लिन जान्थी र सहयोग वा ठक्कर पो पाउँथी कि ? लेखकले महिलाहरूले विशेष गरेर हिंसामा परेका महिलाहरूले एकल जीवनका लागि गरेको संघर्षलाई चटक्कै छोडेर एउटा हिंसाबाट बच्न सजिलो माध्यम खोजेको कुरा सतहमा देखिन्छ । तर उक्त कथाले हाम्रो समाजमा रहेको पुरुषको भरबिना महिला बाँच्नै सक्दैनन् भन्ने जुन मान्यता छ, त्यसैलाई स्वीकार गरेको देखाउँदैन र ?


पछिल्ला वर्षहरूमा नेपाली समाजमा बलात्कारबारे निकै बहस भइरहेका छन् । हरेक दिन चारजना महिला वा बालिका बलात्कार भएका घटना नेपाल प्रहरीमा दर्ता हुने गरेका छन् । एक संस्थाको तथ्यांकअनुसार यसरी घटना दर्ता हुने जम्मा २५ प्रतिशत मात्रै हुन्, ७५ प्रतिशत घटनाहरू त प्रहरी कार्यलयको गेटसम्म पनि पुग्दैनन् । गत आर्थिक वर्षको चैत मसान्तबीचको ९ महिनामा ९ जनाको बलात्कारपछि हत्या भएको घटना प्रहरीले दर्ता गरेको छ । नियमितजस्तै बलात्कारका घटनालाई हामीले समाचारको रूपमा पढिरहेका हुन्छौँ । उपन्यास पढिरहँदा पाठक बेलाबेला पत्रिका पढेको कि किताब पढेको जस्तै गरी झुक्किन सक्छ ।


पाठक त्यतिबेला झस्किन सक्छन्, जब सहरका मनोरञ्जनका क्षेत्रमा काम (संघर्ष) गरिहेका महिलाहरूबारे उपन्यासमा अलि अस्पष्ट र दोहोरो अर्थ लाग्ने खालका कुरा आउँछन् । काठमाडौंमा रहेका होटल रेस्टुरेन्ट दोहोरीसाँझ, मसाज पार्लर, बार, डिस्कोलगायतका क्षेत्रमा काम गरिरहेका महिला कामदारलाई हेर्न नेपाली मध्यमवर्गीय समाजको चस्मा त्यति उचित छैन । त्यो चस्माले ती महिलाको काम र उनीहरूको यौनको विषयमा फरक रूपमा बुझ्दैन । यो गलत बुझाइविरुद्धमा ती क्षेत्रमा काम गर्ने मानिसहरूले आफ्नो कामको मर्यादाका लागि संगठित रूपमा नै लडिरेहका छन् । किताबमा ती मान्छेहरूको बारेमा पनि लेखिएको छ तर सतही ढंगले । केही हदसम्म यौनकर्मीको रूपमा पनि । किताब पढ्दा घरीघरी लागिरह्यो, यौनकर्म गर्नु र मनोरञ्जनका क्षेत्रमा कामदार भएर काम गर्नु फरक हो भन्ने कुरालाई लेखकले चटक्कै बिर्सिएकी छन् । यस विषयमा लेखकको बुझाई र अध्ययन नपुगेजस्तो लाग्यो ।


किताबमा समयको उडान फट्याङ्ग्रो उफ्रेको जस्तो छिटोछिटो दौडिरहेको देखिन्छ । यौन दुर्व्यवहारमा परेकी बालिका यौन दुर्व्यवहारमा परेपछि एकै पटक बीए पास हुने अवस्थामा पुग्छे । बीचमा पटकपटक यौन दुर्व्यवहारमा परेको उल्लेख भए पनि उसले गरेको प्रतिकार वा विरोधको कुरा छैन । पटकपटक वरिपरि भएको काकाको बारेमा उसले दशकसम्म केही नबोली बलात्कृत मात्रै भइरहेको कुरा त्यति स्वाभाविक लाग्दैन । नभनेको भए पनि उसको मनमा उठ्ने भावनाको कुरा त्यो भावना अरूसँगको व्यवहारमा प्रकट हुने कुरालाई लेखकले पात्र किताबमा मात्रै केन्द्रित भएको भनेर छोडिदिएकी छन् । घरेलु हिंसामा परेकी सोही महिलाले किन विद्रोह गर्न सक्दिन भन्नेबारेमा कुनै उपकथा जोडिनन् बरु काम गर्न आउने कान्छीसँग बाँडेर हलुका भएको मात्रै जोडिएको छ ।


उपन्यासको भाषा ससल बग्छ । ‘आधि’ आजको समयमा उठाउनै पर्ने सवाल उठाउने उपन्यास हो । तर, यसलाई नयाँ ढंगले भने लेखिएको छैन । विषयलाई यसरी नै हेरेर यसअघि पनि लेखिएका छन् । बरु, महिला पुरुषमा नै भर पर्नुपर्ने रहर वा बाध्यताको जुन लम्बेतान पुरुष भाष्य वा सोचको सिलसिला चलिरहेको छ, पारपाचुके गरेको श्रीमान्का बाआमासँग सहयोग मागेको कथा जोडेर उक्त सोचलाई ‘सिमेन्टेड’ गर्ने काम यो पुस्तकले पनि गरेको छ । छोराले छोडपत्र गरेर अर्कैसँग विवाह गरेपछि पनि बुहारीलाई माया गर्ने सासू–ससुरा त यसमा छन् तर हिंसामा परेर छोडपत्र गरेका महिलालाई प्रेरणा दिने कुरा खासै छैन । हिंसामा परेका महिलाले गरिरहेको विद्रोहको कुरालाई यसमा खासै ठाउँ दिइएको छैन । महिलालाई सहनशीला सुशीलाको रूपमै चित्रण गरिएको छ ।


यो उपन्यासमा एक उच्च मध्ययमवर्गीय सम्भवतः कुनै प्रकारको गम्भीर हिंसा नभोगेकी महिलाको जीवनदृष्टि पाइन्छ । जहाँ महिलाहरू श्रीमान् कार्यालय गएपछि तास खेलेर सधैं रमाइलो गरेर समय कटाउँछन् । महिला सकेसम्म पुरुषको भर पर्छन्, उनीहरूको छुट्टै अस्तित्वका लागि संघर्ष गर्न चाहन्नन् ।अन्त्यमा लेखकले हिंसा प्रभावित महिलाले अरूको लागि समाजसेवा गर्नका लागि सुरक्षा आवासका खोलेको कुरा उल्लेख गरेकी छन् । तर, पात्रको जुन आर्थिक हैसियत र सामाजिक पहुँच छ त्यो सुरक्षा आवास चलाउने तहको देखिदैन । सुरक्षा आवास सजिलै खोल्न सकिने कुरा होइन ।

Page 23
कोसेली

प्रजातन्त्र र फुटपाथ

सडक केवल मोटरगाडी र बाइककै लागि हुन् भने हाम्रा सडकको अराजक प्रवृत्तिले हजारौंका ज्यान त लिने नै छ साथै देशकै आर्थिक, वातावरणीय र सामाजिक क्षय पुर्नै नसकिने हदसम्म जानेछ ।
- रत्नराम श्रेष्ठ

एउटा प्रसिद्ध भनाइ छ, ‘डेप्थ अफ दी डेमोक्रेसी क्यान बी मेजर्ड बाई दी वाइड्थ अफ दी फुटपाथ’ अर्थात् कुनै पनि देशको प्रजातन्त्रको गहिराइ थाहा पाउन त्यहाँको फुटपाथको चौडाइ नापे पुग्छ । हरेक देशको सरकार, समाज, सहरका सामाजिक चेतना, संस्कार, विकासको पहिलो ऐना हो सडक, बाटाहरू र यसका अवयवहरू ! प्रजातन्त्रले बोक्ने प्रमुख गुणहरू स्वतन्त्रता, समावेशिता र नागरिक अधिकारहरू माग्ने, अभिव्यक्त गर्ने पहिलो पब्लिक स्पेस सडक, बाटा र यसको प्रमुख मानवीय अवयव फुटपाथ हो । हरेक सभ्यताका चरणमा बनेका नगर, सहर र बस्ती विकासहरूमा बाटालाई प्रमुख आधाररेखा बनाएर अन्य सहरी प्रारूपहरूको निर्माण गरिएका हुन्छन् । प्राचीन चिनियाँ या रोमनकालका उदाहरणहरू या हाम्रै लिच्छवि, मल्लकालमा विकसित गरिएका नगरीय
मोडलहरू ! मानवको सहज आवगमन (मोबिलिटी) का लागि सडकहरू पैदलयात्रुमैत्री बनाइएका पाइन्छन् ।
यसरी हेर्ने हो भने हाम्रो प्रजातन्त्रको गहिराइ बुझ्न त्रिपुरेश्वर, टेकुलगायत सहरका अन्य अधिकांश क्षेत्रका सडकका फुटपाथहरू काफी छैनन् ? चौडा सडक र खाल्डाखुल्डी र खुम्चाइएको विदीर्ण फुटपाथ हाम्रा प्रजातन्त्रको वास्तविक आकारको विम्ब होइनन् ? हरेक पटक सडक विस्तार हुँदा फुटपाथचाहिँ किन घट्छ ? चिल्ला महँगा गाडीहरू कुद्ने चौडा सडकहरू र आममानिसहरू पैदल हिँड्ने निरीह अस्तित्वहीन फुटपाथहरू ! खाल्डाखुल्डी, धूलोमैलोले भरिएका सहरका फुटपाथ लोकतन्त्रको छ्याके अनुहारको प्रतिबिम्व होइनन् ? पैदलयात्रीहरूप्रतिको सरकारी संवेदनशीलता तिनै खाल्डाहरूमा पुरिएका छन् । धूलोसँगै उडेका छन् ।
सडक, बाटाका प्रयोगकर्ताहरूको ‘हाइआर्की’ मा पैदलयात्री, अपांगता भएका र ह्विलचेयर प्रयोगकर्ताहरू पहिलो दर्जामा हुन्छन् । दोस्रोमा साइकलयात्री, तेस्रोमा सार्वजानिक यातायातका साधन । पुछारतिर निजी कार, मोटरगाडीहरू, मोटरसाइकलहरू । तर हाम्रा नीतिनिर्माता र सरकारीविज्ञहरूको दिमागी दिवालियापन सडकमा छरपस्टै देखिन्छ । यहाँ सडक प्रयोगकर्ताहरूको ‘हाइआर्की’ बाँकी विश्वकोभन्दा ठीक उल्टो छ । निजी कार, मोटरगाडी, मोटरबाइकहरू फेदबाट टुप्पामा परेका छन् । ४/६ लेनको सडकमा मोटरगाडीका लागि मात्र प्राथमिकताका साथ लेन राख्नु सडक, राजमार्गलाई अराजक र अमानवीयकरण गरिएका कारण सडक, बाटाहरू बेथितिमय छ, हाम्रा हरेक सहरहरूमा । आज यसैका कारण सडक दुर्घटनामा मारिनेमा पैदलयात्रीहरू धेरै छन् । सन् २०१२ मा सडक सुरक्षाविज्ञ तथा यातायात इन्जिनियर लक्ष्मण केसीको अध्ययनअनुसार सडक दुर्घटनामा मारिनेहरूमा ५२ प्रतिशत पैदलयात्री थिए ।
हाम्रा सहरको विकास र व्यवस्थापनका प्रारूपहरूमा मुलुकको र सहरका भविष्य, हाम्रा बच्चा, केटाकेटीहरूलाई कहाँ राखिएको होला सोच्नुभएको छ ? अथवा बुज्रुग उमेरका वृद्धवृद्धाहरू ! अझै अनौपचारिक क्षेत्र जसले सहरलाई चलायमान बनाउँछ, तिनमा काम गर्ने मानिसहरूलाई ? घरर्गहिणीहरू, सरसफाइकर्मीहरू, स्विपर, तरकारी दूध बेच्ने मानिसहरू, फुटपाथका व्यापारी, सडक बालबालिका, अनाथ बच्चा र घरबाट त्यागिएका वृद्धवृद्धाहरू, मनोरोगीहरू, चराचुरुंगी र जनावरहरू ! यी सबैलाई ओगट्ने प्रारूपका विकास सहरले कसरी लिएको छ ? सहरलाई आखिर जीवन्त कसले बनाउँछ ? धुवा र धुलो उडाउदै हिँड्ने गाडीले मात्र सहर हुन्छ ?
सन् २०११ कै जनसंख्यालाई हेर्ने हो भने देशको जनसंख्या तथ्यांकअनुसार १४ वर्षमुनिका केटाकेटी, बच्चाहरू ३४.८२ प्रतिशत छन् । ५५ वर्षमाथिका पाको र वृद्ध जनसंख्या ११.२३ प्रतिशत । दुवै जोडिँदा ४६.०५ प्रतिशत जनसंख्या बालबच्चा र वृद्धवृद्धाहरू छन् ! राजमार्गबाहेकका सहरी सडक, बाटाहरूलाई ‘पब्लिक स्पेसका’ रूपमा लिइन्छ ! पब्लिक र प्रजातन्त्रबीचको सम्बन्ध यही ‘स्पेस’ मा हुने अभिव्यक्तिद्वारा निर्धारण भइरहेको हुन्छ । त्यसो भए हाम्रो जनसंख्याका आधा वृद्धवृद्धाहरू र केटाकेटी सहरको प्रारूप र विकास नीतिमा कहाँ अटाएका छन् त ? देशभरमा अपांगता भएकाको जनसंख्याको ५ प्रतिशत छन् भन्ने अनुमान छ । अतः यतिका आधा जनसंख्यालाई ओगट्ने उमेर र वर्गहरूलाई आवागमन र हिँडडुलका लागि सडक, बाटाहरूमा ठाउँ कहाँ दिइएको छ त ? लोकतन्त्रको यस मौलिक हकलाई सरकार र नीतिनिर्माताहरूले बुझ्न खोजेको देखिँदैन । अतः सडकमा ऊपयुक्त फुटपाथ, साइकल/ह्विलचेयर लेन, बस लेन र दृष्टिविहीनहरूलाई टाक्सटाइल पेभिङ भएको फुटपाथसहित चाहिन्छ । समाजवादी स्वभाव र समावेशितालाई हरेक नीतिमा अँगाल्नु पर्छ । सडक र फुटपाथ यसबाट अलग कसरी हुन सक्छ ?

२०७४ साउन ११ गते । झरीले बौद्धको सडक पानीमा डुबेको थियो । पानीमा फसेका एक ह्विलचेयर प्रयोगकर्तालाई ९ कक्षामा पढ्ने सुजाता गोलेले तानेर पानीबाट निकालिन् । यो दृश्य कान्तिपुरका फोटोपत्रकार संजोग मानन्धरले खिचे । काठमान्डु पोस्टमा यो फोटो छापिएलगत्तै सामाजिक सञ्जालमा यो फोटो भाइरल भयो । यो फोटोले हाम्रो सडकको हविगत र अपांङ्गता भएकाका पीडाका कथा खोल्न समाजलाई झक्झकायो । सरकारी मनुवाहरूलाई भने यसले पनि कहीं कतै छोएको देखिएन । असारे विकास– ३/४ महिने पिच र लोकतन्त्र !
गत चैत १४ गते बिहीबार बिहान जोरपाटी, खगेन्द्र नवजीवनअगाडिको विस्तार गरिएको सडकमा फुटपाथ मान्छे हिँड्नै नमिल्ने गरी बनाइएको भन्दै
ह्विलचेयर प्रयोगकर्ताहरू जम्मा भएर विरोध गरे । घन र पिक लिएर फुटपाथ भत्काइदिए । खगेन्द्र नवजीवन अपांग केन्द्रभित्र जान ह्विलचेयरवालाहरूका सहजताका लागि कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पहलमा चन्दा संकलन गरेर चार वर्षपहिले र्‍याम्प बनाइएको थियो । बल्लतल्ल बनेको र्‍याम्पसमेत सडक विस्तारका नाममा भत्काइँदा अपांग अधिकारकर्मीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको ध्यानाकर्षण गराएका थिए । तर परिणाम शून्य ! यही आक्रोश थियो उक्त विरोध !
सडक विभाग र काठमाडौं उपत्यका प्राधिकरणले मोटरगाडी, कार र बाइक प्रयोग गर्ने १० प्रतिशत मात्र सडक प्रयोगकर्ताहरूका लागि लगभग सबै १०० प्रतिशत जनता (मोटरगाडी, बाइकवालाहरू पनि कुनै बेला पैदलयात्री नै हुन्छन्) का दैनिक जीवनलाई किन कष्टकर बनाएका हुन् ? यहाँ यस्तो संवेदनशील आधारभूत कुरामा पनि कसको स्वार्थमा यस्तो निर्णय गरिरहेका हुन्छन् ? यी सधैं उठिरहेका गम्भीर जनप्रश्नहरू हुन्छन् ।
२ वर्षअघि सामाखुसी चोकमा स्कुलबाट फर्किंदै गर्दा नालामा खसेकी ९ कक्षाकी छात्रा सत्या सापकोटालाई केही युवाले पछ्याउदै उद्धार गरे । गत वर्ष कात्तिक १० गते शनिबार बेलुका साइकलबाट घर फर्किंदै गर्दा ६ महिनादेखि खुला छाडिएको मेनहोलमा खसेका साइकलप्रेमी, योग इन्स्ट्रक्टर श्याम श्रेष्ठको भने यसरी उद्दार हुन सकेन । उनले अनाहकमा ज्यान गुमाए । यस्ता घटनामा काठमाडौंमा मात्र सिमित छैनन् । भदौ पहिलो हप्ता बिर्तामोडमा नगरपालिका भवनको केही दूरीको सडकमा खुला छाडिएको नालामा खसेर डुबेको अवस्थामा स्थानीय ६७ वर्षीय सुमित्रा राईको लास भेटिएको थियो ।
यी दुर्घटनाले सडकसँग जोडिएका सरकारी निकायका चरम लापरबाही बुझाउँछ । सडक बनाउने तर ढल, नाला, बिजुलीका पोल, तारलाई बेवास्ता गर्नुले सरकारी अधिकारी कति गैरजिम्मेवार छन् भन्ने बुझिन्छ । यतिका लामो समयसम्म नागरिकका अधिकार र समस्याप्रति सरकारी निकाय संवेदनशील किन छैनन् ? काठमाडौंलगायत हरेक सहर, नगरहरूको सहरी यातायात नीतिमा अनिवार्य पैदलमैत्री, साइकलमैत्री,
ह्विलचेयरमैत्री र अपांगमैत्री ‘स्ट्यान्डर्ड’ तोकिनुपर्छ । हरेक यातायात योजना कार्यक्रमहरूमा त्यसलाई लागु गर्नुपर्छ । यदि सडक केवल मोटरगाडी, कार, बाइकहरूकै लागि हुन् भने हाम्रा सडकको अराजक प्रवृत्तिले हजारौंका ज्यान त लिने नै छ साथै देशकै आर्थिक, वातावरणीय, सामाजिक र मनोवैज्ञानिक क्षय पुर्नै नसकिने हदसम्म जानेछ । अत्यन्त सिकिस्त बिरामीलाई बोकेर इमर्जेन्सी साइरेन बजाउँदै दौडिने एम्बुलेन्सलाई जानीजानी बाटो नछाड्ने असभ्य, अक्षम्य हाम्रा व्यवहार त त्यही सडकमा देखिन्छ ।

गत आर्थिक वर्षमा २ खर्ब १७ अर्ब पेट्रोलियम पदार्थ आयातमा खर्च भएको छ । आधा खर्ब बराबरको मोटरगाडी, कार, बाइकहरू आयात भएको छ भने लगभग एक तिहाई खर्ब तिनका पार्टपुर्जाहरू, १० अर्बबराबरको लुब्रिकेन्ट र ८ अर्ब बराबरका टायरहरू आयातमा ! यसरी ३ खर्ब बराबर याने देशको एक तिहाइ बजेट बराबरको आयात खर्च हामीले सवारी साधनहरूमा गर्ने गरेका छौं । गएका तीन आर्थिक वर्षमा मात्र सरकारले मुलुकको ढुकुटीको लगभग साढे १५ अर्बको मोटरगाडी, कार, बाइक किन्नमा खर्च गरेको छ । गत आर्थिक वर्षमा मात्रै ६ अर्ब ६१ करोड ४५ लाख रुपैयाँ खर्च गरेर ६ हजार ९ सय ९ वटा मोटरबाइक तथा १ हजार २४ कार, जिप, सवारीसाधनहरू खरिद गरेको छ । विगत एक दशकमा लगभग ७० अर्बभन्दा बढी रुपैयाँ जनताको पसिनाको कमाइको सरकारी ढुकुटीको रकम गाडी र मोटरबाइक किन्न सकिएको छ ।
आव ०७५/७६ मा नेपाली उपभोक्ताले नेपाल आयल निगमसँग रु.२ सय ६३ अर्बको पेट्रोलियम इन्धनमा खर्च गरेका छन् । जबकि उक्त वर्षमा पुँजीगत विकास खर्च छुट्याइएको ३ सय १३ अर्बमा सरकारले मात्र २ सय ३८ अर्ब खर्च गर्न सकेर निर्वाचित सरकार र नोकरशाहीहरूको स्थायी सरकारले असक्षमता देखाएको छ ।


सडक, बाटाहरूका प्राथमिकता र अधिकार स्थानीय जनताबाट खोसिएर केवल कार, मोटरगाडी, बाइकहरूलाई मात्र दिनुलाई जनघात मानिनुपर्छ ! चौडा सडकहरू यदि पैदलमैत्री, अपांगमैत्री, साइकल/ ह्विलचेयरमैत्री हुन सकेन भने यसले साधारण वा गरिब जनतालाई सडकबाट बेदखल गर्ने छ । यसले समाजमा गरिब र धनीको खाडललाई बढावा दिन्छ ! जसले समाज र देशमा सामाजिक द्वन्द्व निम्त्याउन सहयोग गर्छ । अतः लोकतन्त्रमा सडक, राजमार्गहरू केवल सीमित उच्च वर्ग, धनीहरूका मोटरगाडी वेगमा दौडाउने खेलमैदान मात्र होइनन् । राष्ट्रको अधिकांश जमात उही निम्न, मध्यम वर्गका नेपालीहरूको छ, जसका भोटले सरकार चुनिन्छन् । जसका करले देश चल्छ र जसका श्रमले देश बन्छ । तर सडक, बाटाहरूमा अधिकांशतः त्यही वर्गका जनताका मौलिक सडक अधिकार किन लुटिन्छ ?
नागरिकबाट उठाइएको करबाट बनाइने सडक, बाटामा उसकै भूमिका पन्छाउनु नागरिक–अपमान हो ! सडक बिस्तार र चौडा गरिनुपर्छ तर गाडीका लागिमात्र होइन । विस्तारित सडक, चौडा बाटाहरूमा अझै फराकिला फुटपाथ, साइकल लेन, ग्रिनबेल्ट सडकको सुन्दरता हुन् । पैदलयात्री, अपांगता भएका र साइकलयात्रीलाई बहिष्करण गरेर विस्तार गरिएका अलकत्रे सडक काला मरुभूमिसरह हुन्, जहाँ केवल अराजक मेसिनहरू कर्कश ध्वनि, धूवाँ र धूलोको आतंक फौलाउँदै कुद्छन् । अतः सबैलाई समेटिने गरेर बनाइने सडक नै पूर्ण सडक हो जुन समावेशी र प्रजातान्त्रिक हुन्छ ।
काठमाडौं उपत्यकामा २ हजार किमिभन्दा बढी लम्बाइका पिच सडक बनेका छन् । यीमध्ये अधिकांशमा उपयुक्त फुटपाथ छैनन् । साइकल लेनहरू भने तिलगंगादेखि एयरपोर्टसम्मको प्रयोगविहीन र भत्काइएको अवस्थाको लगभग १ किमि, फिः ब्यखः (माइतीघर) देखि तीनकुनेसम्म गलत डिजाइनका साथ बनेको अनुपयुक्त २.७ किमि र जडीबुटीदेखि पेप्सिकोलासम्म लगभग १ किमि साइकल लेन छन् । काठमाडौं महानगरपालिकासँगको सम्झौताबमोजिम माइतिघरदेखि तीनकुनेसम्मको साईकल लेनलाई रिफन्कसनलाइज गर्न रिभ्यु अध्ययन नेपाल साइकल सोसाइटीले गरेको छ ।

राष्ट्रकै ठूलो धनराशि मोटरगाडी संस्कृति र यातायातका लागि खर्च हुँदै गर्दा कर्पोरेट व्यवसायीहरूले कार, मोटरगाडी, बाइकहरूलाई समाजको आवश्यकता र विकासको सूचक भन्दै व्यापार वृद्धि गर्दै छन् । कार संस्कृति भलै हाम्रा लागि नौला होला तर विश्व परिवेशमा विकसित र सचेत सहरहरू, काररहित सहरको परिकल्पना र अवधारणामा गइसकेका छन् । सन् १९७६ बाट कोलम्बियाको बोगोटाबाट सुरु भएको यो अभियानमा संसारका लगभग ४ सयभन्दा बढी सहर जोडिइसकेका छन् । सहरका कोर एरियामा मोटरेबल गाडी, कारहरूलाई पूर्णरूपमा निषेध गरी पैदलमैत्री, साइकलमैत्री बनाउन थालिएका छन् । हाम्रा पुराना ऐतिहासिक नेवारी सहरहरूका गुणावशेषहरू यस अभियानमा अँगालिएका छन् । युरोपभरि ७६ हजार ३ सय ७७ किमि युरोभेलो साइकल रुट तयार भइरहेको छ भने हजारौं किमिको एकीकृत साइकल नेटवर्क विकास भइरहेको छ । सन् १९७० तिर ‘कार किल्स चाइल्ड’ यही बृहत् आवाजहरूबाट उठेको बृहत् नागरिक अभियानको कारण नै एम्स्टरड्यामलगायत सम्पूर्ण डच सहस, नगरहरू आज विश्वका लागि साइकलमैत्रीको उदाहरण बन्न पुगेका छन् ।


भनाइ नै छ– मूर्खहरू आफैंलाई परेर चेत्छन्, बुद्धिमानीहरू पढेर चेत्छन् तर ज्ञानीहरू अरूको देखेर नै चेत्छन् ! हाम्रो बुद्धिको स्तर हाम्रा सडकका डिजाइनहरू, सडक संस्कृतिहरू र सडक दुर्घटनाका दैनिक समाचारहरूले स्पष्ट रेखांकन गरिरिहेको छ । अब उत्तर माग्ने बेला आएको छ– हाम्रो सहर र सडकहरू बाइक, मोटरगाडी, कार केन्द्रित किन र कसको स्वार्थका लागि ? नागरिककेन्द्रित विकास गर्न सरकारलाई कसले छेकेको छ ?
बोगोटाका प्रसिद्ध जनमुखी पूर्वमेयर तथा साइकल अभियन्ता ऐनरिक पेनोसोलाले भनेका थिए, ‘धनीहरूका मनोरञ्जनका लागि त क्लब छन् तर गरिबका लागि फुटपाथबाहेक केही छैन । प्रजातन्त्रको गहिराइ यही फुटपाथको चौडाइबाट नाप्न सकिन्छ !’
(लेखक नेपाल साइकल सोसाइटीका अध्यक्ष हुन् ।)

कोसेली

१.५९

- हिमेश

 

दौडमा अलिकति पनि रुचि भएकाले भन्ने गर्छन्, कम्तीमा एकपल्ट त जीवनमा म्याराथन दौडेर पूरा गर्नैपर्छ । समयको चिन्ता कहाँ छ र ? ६ घण्टा लागोस् अथवा १२ घण्टा नै । एकचोटि न एकचोटि म्याराथन पूरा गर्नेको शान नै बेग्लै हुने गर्छ । खेलकुदको माध्यमबाट मानिसको सबैभन्दा ठूलो शारीरिक परीक्षा नै म्याराथन हो । आखिरमा एकैचोटि ४२.१९५ किलोमिटर दौडिनु भनेको त एक प्रकारले दुस्साहस पो हो । तर यही दुस्साहसमा रमाउन खोज्ने पनि त उत्तिकै हुने गर्छन् ।


नेपालका पुराना म्याराथन धावक अर्जुन पण्डितले एकपल्ट आफ्नो अनुभव सुनाउने क्रममा भनेका थिए, प्रत्येकपल्ट उनले म्याराथन दौड पूरा गर्दा मुखमा काँचो रगत बगिरहेको अनुभव गर्छन् । यस्तो अनुभव उनलाई केही दिनसम्म भइरहन्छ । स्वास्थ्य विज्ञानको भाषामा भन्दा यस्तो सम्भव नहुन पनि सक्छ । तर, उनको आशय त प्रस्ट छ— म्याराथन दौडिन सजिलो छैन । दौडिहाले पनि मुखमा काँचो रगतको स्वाद आइरहन्छ । यो म्याराथन गाह्रो भएर नै हो ।
सबैभन्दा पहिले पुरानै कुरा । इसापूर्व ४ सय ९० मा ग्रिस र पर्सियाबीच ‘म्याराथन’ भन्ने स्थानमा युद्ध चलिरहेको थियो । त्यसमा विजयी रह्यो– ग्रिस । त्यो समाचार सुनाउने जिम्मा पाए, एक सैनिकले । ती सैनिक युद्ध स्थलबाट दौडेर एथेन्स पुगे । आफ्नो देश जितेको समाचार सुनाए । अनि त्यहीं ढले । फेरि कहिले पनि उठेनन् । त्यति बेला उनले ४० किलोमिटर जतिको दूरी दौडेर पूरा गरेका थिए । युद्धमा जितको समाचार सुनेर जहाँ ग्रिसवासीको खुसीको सीमा रहेन, त्यहीं ती सैनिकको बहादुरीसामु पनि सबै नतमस्तक भए ।


त्यसैले सन् १८९६ मा जति बेला ग्रिसको एथेन्सले पहिलो आधुनिक ओलम्पिक्सको आयोजना गर्‍यो, त्यसमा यस्तै दौड सामेल गरियो र त्यसको नाम राखियो— म्याराथन । त्यसो त ती बहादुर सैनिकको कथा धेरैपछि मात्र बुनिएको भन्ने पनि छन् । तर त्यही कथामा टिकेर म्याराथनको आयोजना भएको भए पनि यो विश्व खेलकुदको सबैभन्दा बढी चर्चामा आउने स्पर्धा रहेको छ । एथलेटिक्सको प्रतियोगिता हुनुपर्छ— म्याराथन छुट्दैन भन्दा हुन्छ ।
पहिलो आधुनिक ओलम्पिक्सको पहिलो विजेता रहे, ग्रिसकै स्पाइरिडन लुइस । पेसाले भेडा गोठाला उनी पूर्वसैनिक थिए । म्याराथनमा स्वर्ण के जिते, उनी पूरा देशकै नायक बने । उनले त्यो दौड दुई घण्टा ५८ मिनेट जत्तिको समयमा पूरा गरे । त्यही दौडमा एक ग्रिक महिला पनि सहभागी भएकी थिइन् तर उनलाई औपचारिक रूपमा समावेश गरिएको भने थिएन । दौडचाहिँ उनले पनि पूरा गरेकी थिइन् । जति बेला उनको दौड पूरा भएको थियो, समयले एक दिन छोइसकेको थियो ।


म्याराथनसँग जोडिएको इतिहास पल्टाउनुपर्छ, यस्तो मज्जाका कथा धेरै पाइन्छ । अनि यस्तै कथाबीच प्रायः सोधिने प्रश्न हो, मानिसले कति समय सीमाभित्र यो दौड पूरा गर्न सक्छन् ? अथवाको मानिसको म्याराथन दौडिने सीमा कुन विन्दुमा गएर रोकिनेछ त ? धेरै होइन, केही वर्षअगाडि मात्र खेलकुदमा अनुसन्धान गरिरहेका केही वैज्ञानिकको समूहले दाबी गरेको थियो— मानिसले कहिले पनि ४२.१५ किलोमिटरको दौड दुई घण्टाभन्दा कम समयमा सकाउन सक्ने छैनन् । केन्याली धावक इजियुड किपचोगेले हालै मात्र ती वैज्ञानिकको दाबीलाई गलत सावित गरिदिएका छन् । अस्ट्रियाको भियनामा आयोजना भएको विशेष म्याराथन दौड उनले पहिलोपल्ट दुई घण्टा कम समयमा पूरा गरे । ठ्याक्कै निस्केको समय थियो, १ घण्टा ५९ मिनेट र ४०.२ सेकेन्ड । यस क्रममा उनी म्याराथन दुई घण्टाभन्दा कम समयमा पूरा गर्ने पहिलो मानव बने । दुई वर्षअगाडि इटालीमा पनि उनले यस्तै प्रयास गरेका थिए तर सकेनन् ।


सन् २०१७ को त्यो प्रयासमा उनले दौड २ घण्टा ०० मिनेट २५ सेकेन्डमा पूरा गरेका थिए । त्यसो त अहिलेको समयलाई औचापरिक विश्व कीर्तिमानका रूपमा मानिने छैन् । यो कुनै आधिकारिक म्याराथन दौड होइन । तर पनि यसको विश्व खेलकुदमा भने ठूलो महत्त्व हुनेछ । यिनै किपचोगेकै भाषामा भन्दा मावन इतिहासमै चन्द्रमामा मानिसले टेकेको पहिलो पाइलाले जे अर्थ राख्छ, दुई घण्टाभन्दा कम समयमा म्याराथन दौडिने पनि त्यस्तै हो, विश्व खेलकुदका लागि ।


म्याराथनकौ औपचारिक विश्व कीर्तिमान पनि किपचोगेकै नाममा छ । उनले सन् २०१८ को बर्लिन म्याराथनमा २ घण्टा १ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरेका थिए । यसपल्ट भियना पार्कमा आयोजना गरिएको दौड भने खालि मानिसले म्याराथन दुई घण्टाभन्दा कम समयमै पूरा गर्न सक्छ भनेर देखाउने नै हो । यसका लागि अरू विशेष खाले व्यवस्था पनि गरिएको थियो । जस्तो किपचोगेको पछाडि पछाडि ४१ खेलाडीले पनि दौड लगाएका थिए ।
तिनलाई ‘पेस मेकर्स’ को भूमिका दिइएको थियो । यसमा पनि नामी धावकहरूकै बाहुल्य थियो । उनीहरूको काम नै थियो, किपचोगेको गतिमा कमी आउन नदिने । अझ भन्दा उनीहरूले एक प्रकारले किचचोगेलाई पछ्याइरहेका थिए, उनी आफैं भने उनीहरूबाट भागिरहेका थिए । दौड पूरा गरेलगत्तै उनले भनेका शब्दले पनि खास अर्थ राख्छ । उनको भनाइ थियो, ‘म दुई घण्टाभन्दा कम समयमा म्याराथन दौडिने पहिलो धावक बनें । खासमा म अरू धेरैका लागि प्रेरणा हुन चाहन्छु । मानिसको प्रदर्शनको कुनै सीमा छैन ।’


पूरा दौडका क्रममा उनले प्रत्येक २ मिनेट ५० सेकेन्डमा एक किलोमिटर पूरा गरे । दौडको बीचमा पुग्दा उनी आफ्नो लक्ष्यभन्दा ११ सेकेन्डले अगाडि रहिसकेका थिए, त्यसैले यसपल्ट कीर्तिमान बन्ने लगभग तयजस्तै भइसकेको थियो । उनले कीर्तिमान समयमा दौड पूरा गर्नुपछाडि केही ठोस कारण पनि थिए । कीर्तिमान समय निकाल्न भनेर नै दौडमा धेरै मोड राखिएको थिएन । अधिकांश समय किपचोगेले सीधा दौडिने मौका पाए, त्यो पनि हावाको बहाव कम भएको स्थितिमा ।


कसरी दुई घण्टाभन्दा कम समय निकाल्ने हो भनेर पूरा योजना बनाइएको थियो । अझ भनौं इन्च–इन्चको हिसाब तयार पारिएको थियो । दौडिने क्रममा उनी घाइते नहुन् भनेर पनि उत्तिकै सजगता अपनाइएको थियो । जे होस, यी सबै पृष्ठभूमिका बाबजुद किपचोगेको यो प्रदर्शन वास्तवमै ऐतिहासिक छ । अचेल उनी मात्र होइनन्, अरू केही धावक पनि दुई घण्टा १ मिनेटको हाराहारीमा औपचारिक म्याराथनमै दौडिने भइसके ।


जस्तो गत महिना मात्र बर्लिन म्याराथनमै इथियोपियाका केनेनिसा बेकेलेले २ घण्टा १ मिनेट ४१ सेकेन्डको समय निकाले । अब त्यो दिन धेरै टाढा छैन, जति बेला मान्यता प्राप्त दौडमै दुई घण्टा कम समयको प्रदर्शन निस्कनेछ । ‘मलाई पूरा विश्वास छ, मेरो यो दौडले अरू धेरै धावकलाई कीर्तिमान समय छुन प्रेरित गर्नेछ,’ उनको निचोड छ । हुन पनि खेलकुद नै त्यस्तो माध्यम हो, जसले मानिसको सीमा तोक्छ तर मानिस त्यही सीमा तोड्न जिद्दी देखाउँछ । अनि सफल पनि हुन्छ ।
twitter : @himeshratna

Page 24
कोसेली

अमेरिकी बाख्रागोठमा पीके चौधरी

- देवेन्द्र भट्टराई

 

यो भाग्य हो कि सपना, म भन्नै सक्तिनँ...’ अनि जोडजोडले हाँसे भिनाजु जेब काक्रिन । जेब नजिकै लिसोझैं टाँसिएकी थिइन्, दिदी प्रेमकुमारी चौधरी अर्थात् पीके । यो अजबगजबको कथा सुरु हुन्छ— झापाको जामुनखाडी, सुरुंगा छेउछाउबाट । आजभन्दा ३० वर्षअघि उमेरका २५ वर्षे जेब काक्रिन अमेरिकी स्वयंसेवी (पिस्कोर) बनेर पूर्वी नेपालको झापा पुगेका थिए । नेपाल बैंक लिमिटेडको सघन बैंकिङ कार्यक्रममा साना किसानलाई ऋण सहयोग दिन जेब खटिएका थिए । उनी कुहिरे टाइपको नेपाली बोल्थे, सुरुंगा आसपासका झुपडी पसलमा चिया–चना खाँदै टहल्थे र फुर्सदमा नजिकै माइखोलासम्म पुगेर बाँकटे हानिरहन्थे ।


साना किसानको समूहलाई ऋण दिने खासखुस हल्ला बढिरहेका बेला एक दिन बैंकमा एउटी नवयौवना आइन् । र, सीधै अफिसर जेब काक्रिनका अघि उभिएर सोधिन्— के हामीलाई ऋण दिनुहुन्छ ?
‘त्यो ऋण माग्न आएकी कालीकाली तर राम्री केटीले मेरो आँखामा आँखा जुधाएर कुरा गरेपछि म त भुतुक्कै भैहालें नि,’ फिल्मी कहानीका नायकजस्ता लाग्ने जेब सम्झन्छन्, ‘मैले यताउति नहेरी त्यो केटीका आँखैमा हेरेर जवाफ दिएँ— दिन्छु नि ।’
तर, यसरी ‘दिन्छु’ भने पनि दिनलाई त्यति सजिलो भने थिएन । भोलिपल्ट ती युवती फेरि बैंकमा आइन् । अनि जेबले फेरि आँखामा आँखा जुधाएरै सोधे, ‘तपाईं के गर्नुहुन्छ ? केका लागि ऋण दिने ?’


केटीले भनिन्, ‘मेरो आमा किसान हो, मैले एसएलसी गरेकी छु । अब भने आफैं सानोतिनो व्यापार गरौं कि भनेर सोचेकी छु ।’
यो जवाफ सुनेपछि जेब ऋणीको घर हेर्न बैंकबाट निस्किए । किनभने घर नहेरी र परिवारसँग कुरा नगरी ऋण दिन मिल्दैनथ्यो । केटीको घर जामुनखाडी नजिकै रहेछ । अनि कुरा मिल्यो पनि, ऋण सदर भयो । ४ जना साथीको समूहले ३ हजार रुपैयाँ ऋण पाए । कारण र उद्देश्य पनि स्पष्ट थियो— कोही सुँगुरपालन गर्ने, कोही चिउरा बेच्ने अथवा कोही बाख्रापालनमा लाग्ने ।
यसरी सबै कुरा ‘सदर’ भए पनि जेब ती युवतीलाई दिनहुँजसो बैंकमा बोलाइरहन्थे । कहिले कुनै कागज मिलेन भनेर, कहिले सबै कागज मिल्यो भनेर । उसबेला आँखामा आँखा जुधाएर कुरा गर्ने त्यो केटी अरू कोही थिइनन्, उनै दिदी प्रेमकुमारी चौधरी अर्थात् पीके थिइन् । ती हिजोका मगनमौजी लोन–अफिसर पनि अरू कोही थिएनन्, बरु आँखैसामु आफ्नो ठूलो भुँडी हल्लाउँदै हाँसिरहेका आजका भिनाजु जेब काक्रिन थिए ।

अमेरिकी राजधानी वासिङ्टन नजिकैको राज्य मेरिल्यान्डभित्रको यो बस्तीमा कुनै चाडपर्वको छेक परेको हो कि झैं लागिरहेको छ । दसैं–तिहारको नोस्टाल्जिया बोकेर डीसी, भर्जिनिया, पेन्सिलभेनिया, बाल्टिमोर वरपरका नेपालीहरू हूल बाँधेर आइरहेछन् । उनै पीके दिदी र जेब भिनाजुको घरबास नजिकै आएपछि कोही बाख्राखोरमा छिर्छन्, कोही सुँगुर हेर्न जान्छन् । कुखुरा, हाँस, तित्रा रोज्नेहरू पनि उत्तिकै भेटिन्छन् ।
दसैंको मुख पारेर जरेट्सभाइल पाइक, मोंक्टनस्थित ‘दिदिज् फार्म’ मा छिर्नेबित्तिकै हँसमुख भिनाजु जेब काक्रिन बाख्रागोठाबाट बाहिर आए । हामीले आफ्नो परिचय दिएपछि जेबले आफ्नो ठूलो भुँडीमा टाँसिने गरी गम्लङ्ग अँगालो हाल्दै मायाले भने— ओहो, मेरो ससुराली गाउँका साला केटाहरू पो आएका रहेछन् । कत्रो खुसीको कुरा ! आई एम सो ह्यापी, द्याट यु केम फ्रम माई ससुराली गाउँ... !
यो बातचित चलिरहँदा कोही डीभीको चक्करमा परेर अथवा कोही श्रीमतीको परिबन्दमा फँसेर केही वर्षअघि अमेरिका पुगेका भानिजहरू प्रमोद (लारुम्बा) र सुवास (आँगन) साथैमा थिए । अनि जेबले हामीलाई बाख्रागोठ नजिकैको आफ्नो घरमा लगे, ९३ वर्षीय बाबु फ्रान्सिसलाई हाम्रो परिचय गराए । उनकी दिदी, फुपू, सानिमा, माइजू सबैलाई चिनाए— नेपाली मिजासमा ।


चिनाजानी भैरहँदा दिदी पीके भने कुखुरा समात्न खोरभित्र हाँप र झाँप गरिरहेकी थिइन् । ‘एउटा कुखुराको त्यही २५/३० रुप्पे हो भाइ, यहीं बनाइतुल्याइ गर्ने ठाम पनि छ । खसी भने दसैंको छेक भएकाले सबै बुकिङ भैसक्यो । नयाँ लट भने फूलपातीको दिन मात्रै आउला है,’ दिदीले सुनाइन् ।
जामुनखाडीको चौधरी बोलीमा अम्रिकाने लवज केही मिस्सिएको रहेछ । तैपनि डलर भन्नुभन्दा अझै ‘रुप्पे’ भन्नुमा स्वाद लिइरहेकी थिइन् दिदी । दिदीको फार्ममा खसीबोका पेन्सेलभेनिया स्टेटबाट आउने रहेछ, कुखुरा केन्टुकीबाट । बाख्राका ससाना पाठापाठी आए भने ६ महिनाजति पालेर बिक्रीमा पठाइन्छ । धेरैजसो त दमकको बुधबारे हटियाजस्तो— खसीबोका ल्यायो, तु. बेचिहाल्यो ।‘भाइ, कुरो गर्‍यो कुरैको दुःख भन्छन् नि,’ दुइटा कुखुरा समातेर सरसफाइमा लागेकी पीके दिदी बोलिरहेकी पनि थिइन्, ‘२०४५ सालतिर सुरुंगाको बैंकले साना किसानलाई ऋण दिन्छ रे भन्ने सुनेर त्यहाँ गएकी थिएँ । आखिरमा त्यही ऋण दिने मान्छेको जिन्दगीकै साँवाब्याज बनेर यहाँसम्म आइपुगें । यो भाग्य पनि अनौठो चीज रहेछ भाइ ।’


उसबेला प्रेमकुमारीको सानो व्यापार भने चिउरा खरिदबिक्रीको थियो । उनी होलसेलमा १० रुपैयाँ केजी चिउरा किनेर खुद्रा १२ रुपैयाँमा बेच्थिन् । अलिक धेरै चिउरा किन्यो भने ८ रुपैयाँमैं एक केजी चिउरा आउँथ्यो, उनले त्यसैका लागि ऋण लिएकी थिइन् । किस्तामा बैंकको ऋण तिरिसक्न झन्डै दुई वर्ष लाग्यो, अनि भने साँच्चिकै ‘लभ’ पर्‍यो । ‘एक दिन मलाई जेबले सोधे— तिमीलाई अमेरिका जान मन लाग्छ ?’ प्रेमकुमारी कुखुराको जाँते पखाल्दै गर्दा मायामा नोस्टाल्जिक बनेकी थिइन् । यो आफैंमा अचम्मको प्रश्न थियो । जामुनखाडी वरपरको गाउँठाउँ र नजिकै बिर्तामोडबाहेक काठमाडौं सहर पनि पत्तो नपाएकी प्रेमकुमारीलाई यो झट्का लाग्ने प्रश्न थियो ।‘जान त मन लाग्छ नि । तर, कता हो अमेरिका ? के कसरी जाने, केही थाहा छैन,’ उनको जवाफ थियो । फेरि जेबले मन चोर्ने तरिकामा भनेछन्— मलाई पनि तिमीलाई अमेरिका लगेर मेरो परिवार भेटाउने मन लागेको छ, आमाबालाई भेटाउन मन छ ।


अनि भने प्रेमकुमारीको प्रेम चञ्चल बन्न थाल्यो । रातारात गरेर उनी काठमाडौं आइन् । पर्यटक भिसाका लागि अन्तर्वार्ता दिइन् । तर, अमेरिकी भिसा मिल्न सकेन । अब अर्को उपाय लगाउनुपर्ने भयो । तब जेब र प्रेमकुमारीले कानुनी बिहा गरे । २०४७ सालमा जामुनखाडी गाउँमा बाजा बजाएरै बिहा गरेर देखाए । त्यसपछि भने उनले भिसा पाइन् र आइन् अमेरिका श्रीमान् जेब काक्रिनका साथमा । अनि त जिन्दगीको कुरै अर्को भयो ।

सुरुमा आएर जेब–पीके बाल्टिमोरकै फस्टन भन्ने ठाउँमा बसेका थिए । पीकेका सासू–ससुरा पनि साथै थिए । सुरुमा अंग्रेजी बोल्न नसक्दा इसाराका भरमा पीकेले घरधन्दा धानेकी थिइन् । सुरुंगाको कन्काई माविबाट एसएलसी गरेकी पीके अंग्रेजी बुझ्थिन् मात्रै मुस्किलले, फर्काउने बेलामा जिब्रो लाटिन्थ्यो । अमेरिकामा कम्युनिटी कलेज गएर एक वर्षजति अंग्रेजी भाषाको कक्षा लिएपछि मात्रै उनको बोली फुट्यो ।
पीकेलाई सासू–ससुराले साह्रै माया गर्थे । जेब भने ‘ट्री फर द फ्युचर’ भन्ने परियोजनामा देशदुनियाँ घुमिरहन्थे । रूख रोप्ने कार्यक्रम लिएर उनी इन्डोनेसिया, फिलिपिन्स, भारत, नेपाल (दाङ) गएर रूख रोप्दै घर फर्कने गर्थे । पीकेले भने आफ्नै बलबुतामा अमेरिका आएको एक वर्षमै ड्राइभिङ लाइसेन्स लिन सकिन् । अनि बेकरी आइटमको पसलमा काम थालिन् । वेयर हाउसमा पनि काम गरिन्, वायरलेस कम्युनिकेसनका भरमा प्याकिङका काम गर्थिन् । अनि फेरि १२ वर्षजति केही काम गरिनन् । त्यसबीचमा मेरी र टामस भन्ने छोराछोरी जन्मिए, हुर्किए । आज छोराछोरी २१, २२ वर्षका भए । यीमध्ये छोरो नेपाल जानै चाहँदैनन् भने छोरी नेपाल भनेपछि मरिहत्ते गर्छिन् ।
‘मेरो श्रीमान्को परिवार पनि पहिले कृषक थियो । गाईगोरु निकै थिए । खेती ठूलो थियो । त्यही भएर किसानीमा मन मिल्यो,’ बर्मा गए कर्मसँगै भनेझैं अमेरिका आएर पनि सुँगुरलाई दाना, कुखुरालाई चारो दिइरहेकी पीकेले लगातार आफ्नाबारे भनिरहिन्, ‘म नेपालमा पनि किसानकै छोरी हुँ । यहाँ आएर पनि यस्तै माटोसँग जोडिएको काम गर्न मन लाग्यो ।’
पीके खसीबोका, कुखुराको व्यापारबाहेक हाउस क्लिनिङको काममा व्यस्त हुन्छिन् । ४ वर्षअघि थालेको फार्म हाउस त साइड–जबजस्तै हो उनका लागि । झन्डै ६ करोड रुपैयाँमा किनिएको १० एकड जमिनमा बाख्राफार्मबाहेक खेतीपाती पनि हुन्छ । यहाँ मकैबाली भर्खरै उठाइएको छ, अब गहुँ लगाउने कुरा छ । अझ स्वादको कुरा के छ भने पीके दिदीले बाख्राका बड्क्यौंला थुपार्ने ठाउँमै पूर्वी नेपालबाट ल्याएको अकबरे खोर्सानी पनि रोपेकी छन् । फार्ममा खसी–कुखुराको सिकार गर्न आउने नेपालीहरू अकबरेको बोटमा ‘सेल्फी’ लिन खुबै मन पराउने रहेछन् ।
बाख्रा फार्ममा पिकनिक खाने बहानामा नेपालीको हूल आइरहन्छ । कतिपय मादल लिएर आउँछन्, रातभर मादलको तालमा नाचगान चलिरहन्छ । सात समुद्र पारको यो बिरानो माटोमा ‘सालको पात टपरी बुनेर’ को भाकामा नेपाली दाजुभाइ नाचिरहँदा पीके–जेब दिदी–भिनाजु उसैगरी दंगदास पर्ने गरेका छन् ।
‘ए पीके दिदी, खसीको आन्द्राभुँडी पकाइदिनुस् न है, अकबरे हालेर...’ यसो भन्दै फर्माइस् पनि आइरहन्छ । अनि झनै आनन्द मान्छिन् पीके । भन्छिन्— त्यसबेला उही आफ्नै जामुनखाडी पुगेजस्तो लाग्छ ।
‘खोइ भाइ, यो सबै भाग्य त होला नि । मैले चिताएकी पनि थिइनँ । म एकदमै खुसी छु । मैले भनेजस्तो श्रीमान् पाएँ । जेबले अहिलेसम्म एउटा वचन लगाएर बोलेको छैन । बरु म पो गाली गर्छु । घरमा भात पकाउन भ्याइएन भने किन पकाइनस् भनेका छैनन् । जे हुन्छ, पाउरोटी–चिउरा खाएर चुप लागेर सुत्छन्,’ पीके दिदीसँग सबैभन्दा ठूलो खुसीको कुरा छ ।

बाख्रा–कुखुराको गोठधन्दा सिध्याएर नजिकै आएका थिए— भिनाजु जेब काक्रिन ।
‘सबै नेपाली केटी शिर निहुराएर बोल्छन्, ठाडै बोल्नै सक्तैनन् । यो केटी भने कसरी आँखा जुधाएर ठाडै बोल्न सक्छे ? त्यही भएर मलाई यो केटी मन पर्‍यो,’ फेरि जेब सुरुंगा–डेजमा फर्किएका थिए ।
आज भने उही पीकेका सामु जेब आँखा झुकाएर बोल्ने रहेछन् । पीकेको मायाले गलक्कै गलेका रहेछन् जेब । ‘म आफूलाई एकदमै भाग्यमानी मान्छु । पीकेजस्तो केटी नेपाल, अमेरिका कतै पनि पाउँदिनँ । नेपालकै सबैभन्दा राम्री केटी हो ऊ । त्यही भएर मैले टिपेर ल्याएको,’ यति भनिसक्दा भिनाजु जेबको ठूलो भुँडी हल्लिएको देखिन्छ, अट्टाहाससँगै ।
जेब ससुराली गाउँ जामुनखाडी निकैपटक पुगेका रहेछन् । ७५ वर्षीया सासूआमा नेत्रकुमारी चौधरी पनि २ पटक अमेरिका
आएकी रहिछन् ।


‘पीकेको आमाबुबा एकदम गरिब थिए । तर, घर सफासुग्घर थियो । उनीहरूमा आत्मसम्मान निकै थियो । ती एकदमै दयालु, मायालु थिए । जीवनलाई सकेसम्म राम्रो बनाउने प्रयत्नमा थिए उनीहरू,’ जेब सम्झन्छन्, ‘म निकै आँट गरेर र राम्रो मुखले छोरी माग्न गएको थिएँ । उसकी आमा पहिले त रिसाएकी थिइन्, कुहिरे ज्वाइँ भनेर । छोरी नदिएको भए भागिन्थ्यो होला कि सायद... ।’
त्योबला डेटिङ न सेटिङ । यसो कतै सँगै निस्कियो त कुरा काट्न थाल्ने रहेछन् । ‘ओहो, यो कुहिरे त सल्केछ कि क्या हो भन्थे । अनि म खुम्चिएरै बस्थें,’ मीठो नेपालीमा जेब भन्छन् । यत्ति हो, कहिलेकाहीँ समूहको पिकनिकमा जेब जान्थे । त्यो हूलमा पीके पनि हुन्थिन् । टाढैबाट मस्कामस्की गर्‍यो, बस !
जेबलाई तराई–मधेसका थारू, चौधरीहरूको थोरतिनो कथा पनि थाहा रहेछ । स्थानीय जमिनदार र धनीमानी चौधरीहरू कसरी गरिब बन्दै गएका हुन् भन्ने दारुण कुरो छ यो कथामा । ‘मैले भेट्दासम्म मेरी सासूआमाका कानका लोती माथिदेखि तलसम्म छेडिएको थियो । दुवै कान लच्कने गरी सुनका गहना ढाकिएका थिए । पछिपछि ती कानमा छेडिएका दुलाहरू मात्रै बाकी रहे, सुन भने थिएन,’ सामु झुन्ड्याइएको एउटा रंगीन चित्र बयान गरेझैं जेब भनिरहेका थिए, ‘मेरा ससुराबा पनि राम्रै किसान थिए । थुप्रै बिघा जमिन थियो । पछिपछि पहाडतिरबाट मान्छे आउँदै गए, सस्तोमस्तोमा जमिन लिँदै गए । मेरा ससुराली बर्सेनि गरिब झन् गरिब हुँदै गए ।’


मेरिल्यान्ड राज्यमैं जन्मे–हुर्केका जेबले बाल्टिमोरकै विद्यालयमा पढे, कोर्नेल युनिभर्सिटीमा पढे । पढाइपछि ‘अरू मान्छेलाई सकेको सेवा दिनुपर्छ’ भनेर आफूखुसी उनले स्वयंसेवा रोजेका थिए । एउटै लटमा पिस्कोर स्वयंसेवी बनेर जेबसँगै १० जना नेपाल आएका रहेछन् । उनीहरू त्यसबेला डुम्रे, चितवन, उर्लाबारी, सर्लाही सबैतिर गएका रहेछन् । सुरुमा काठमाडौं, गोदाबरीमा नेपाली भाषाको तालिम लिएपछि जेबले भने हेटौंडामा एउटा परिवारसँग बसेर भाषा सिकेका रहेछन् । ‘अनि म अवसर र भाग्यले तानिएर सुरुंगा पुगें, अढाई वर्ष त्यहाँ बसें । त्यसपछि पीकेलाई साथमा लिएर यता आएँ,’ जेबले सुनाए ।


भिनाजु जेब ३० वर्षअघिको सुरुंगा सम्झनेबित्तिकै हुरुक्क हुन्छन्, अझै पनि । ‘कति राम्रो सानो गाउँ थियो सुरुंगा । त्यहाँ बिजुली थिएन । गाडीहरू धेरै थिएनन् । बिहानै कुखुराले बासेर उठाउँथ्यो । परपरबाट मिल चलेको आवाज सुनिन्थ्यो— पुकपुक, पुकपुक..,’ जेब एक निमेषमा सम्झिरहेका थिए ती दिन, ‘मनसुनका बेलामा खरको छानोबाट चुहिने पानीका थोपा आफैंमा मीठो संगीतजस्तै लाग्थ्यो । पछि धान काट्ने बेलामा त्यस्तै रमाइलो पहेंलपुर बारी देखिन्थ्यो । म सुरुंगाको दसैं–तिहार पनि खुबै सम्झन्छु । पिङ र खसी सम्झन्छु । सुन्दर हरियाली धानखेत सम्झन्छु । लक्ष्मीपूजा सम्झन्छु । झिलिमिली बत्ती सम्झन्छु । गर्मी सिजनमा रातभर पंखाले हम्कँदै बाटातिर टहलिएको पनि सम्झन्छु ।’


जेब सुरुंगावासी राम मैनालीकहाँ डेरा बस्थे । मैनाली सडक बनाउने निर्माण व्यवसायी थिए । नजिकै चियापसलमा गुरुङ्नी दिदी थिइन् । उनको सानो घुम्ती थियो । गुरुङ्नी दिदीलाई निकै दुःख थियो । उनलाई अलिकति भिटा किनिदिएर घर बनाइदिएका रहेछन् जेबले । ‘हो, कृष्णमाया गिरी (गुरुङ) दिदीले मलाई निकै माया गर्थिन् । अहिले पनि सुरुंगा बजार मास्तिर ती दिदीको घर छ । म पछि पनि २००६, २००९ मा सुरुंगा गएँको थिएँ । त्यो आफ्नो ठाउँमा पुग्दा झन्डै रोएको थिएँ म,’ भिनाजु भावुक बनिरहेका थिए, ‘तपाईं झापा जाँदा सुरुंगा गयो भने मेरो साथीभाइ, गुरुङनी माइली दिदीलाई भन्दिनू— मैले खुबै सम्झेको छु । मिस भैरहन्छ । सबैले चिन्छन् मलाई सुरुंगामा ।’


अनि सुरुंगा बस्ने राम मैनाली र ओलीहरूको सम्झना गर्दै थिए जेब । नारायण ओली, कैलाश लिम्बू, गोविन्द जोशीको नाम लिंदै थिए । सुरुंगा बैंकका त्यसबेलाका म्यानेजर युवराज भण्डारी, केदार पोखरेल, लामिछाने सबैलाई सम्झेका छन् उनले । ‘महिनाको ३ सय रुपैयाँ मेरो कोठाको भाडा थियो,’ उनी सम्झन्छन्, ‘त्यसबेला १ डलरको २८ रुपैयाँ थियो । जोशीजीकहाँ मासुभात खाएमा महिनाको ५ सय रुपैयाँ तिर्नुपर्थ्यो । म भने शाकाहारी हुन्थें, पैसा जोगाउन । दालभात, नुनखोर्सानी, दही, प्याज... ओहो, कुरा नगरौं ।’
३० वर्षअघिको कुरा हो यो । तर, नशा कस्तो बनेको रहेछ भने जेबलाई अहिले पनि कम्तीमा हप्तामा एकचोटि अघाउने गरी दालभात खानैपर्छ । जेबलाई आफ्नो फार्ममा नेपाली आउँदा साह्रै खुसी लाग्छ, किनभने यसमा उनको सुरुंगा–कनेक्सन छ । ‘योभन्दा बढी मेरी बूढी प्रेमकुमारीले यता टाढासम्म केही माइती चेली भेट्न आएको सम्झन्छे, मलाई खुसी लाग्छ,’ भिनाजु जेब बेलाबेला कविझैं सुनिन्छन् ।
रूख रोप्ने अभियान र अरू स्वयंसेवा गरेर संसारका निकै देश घुमेका जेबका लागि नेपाल–नेपालीजत्तिको हार्दिक कोही छैन, कतै छन् । भन्छन्, ‘नेपाली परिवारमा जस्तो मज्जाको जीवन संसारमा कहींकतै छैन । अमेरिकाले जो नेपाली यहाँ आउन चाहे पनि भिसा दिए हुन्थ्यो भन्ने लाग्छ ।’

बिरानो माटोमा दिदीभिनाजु भेटिंदा समयको ख्याल थिएन । छिनभरमै दिदी पीके नजिकै राखेको गल्फ–कार्ट (ट्रली मेसिनजस्तै) मा बसिन् र मकै ढोडले भरिएको बारीमा ट्रली कुदाइन् । निकै पर पुगेर बारीमा फोहोर फाल्दै ट्रली घुमाइन् । ‘यो जीवन के होला दिदी ?’ ट्रलीमा सँगै बसेर बारी–कान्ला कुदिरहेका बेला पीके दिदी झस्किएजस्तो गरिन्, ‘खोइ भाइ, नो आइडिया । जीवन यही हो भनेर आइडिया बनाउन थालेको भए म सायद यहाँ आउने थिइनँ कि ?’


बारीमा मल थुपारेर फार्मको किचेनमा पुग्दा भिनाजु ससुराली गाउँका नेपाली केटाले पकाएको कुखुराको सिकार चाख्दै थिए । ‘मीठो रहेछ, तर अलिक चाम्रो बनेछ । तिम्री दिदीको कुखुरो अलिक बूढो थियो कि ?’ अनि भिनाजु दिदी पीकेतिर हेरेर फेरि अट्टहास गरे । त्यही मौकामा भिनाजुलाई सोधियो, ‘यो जीवन के होला जेब भिनाजु ?’


‘जीवन के हो ? मलाई केही थाहा छैन । जीवन बनाउने कुरा होइनजस्तो लाग्छ, जीवन पाउने कुरा बढी होजस्तो लाग्छ । केही भाग्यको अंश पनि होला,’ यति भनेर भिनाजु केही छिन रोकिए । अनि एउटा कथा हाले, गुरुपुरोहित शैलीमा ।
‘एउटा मान्छेले हरेक दिन भगवान्को प्रार्थना गर्दै भनेछ— हे भगवान्, मलाई कुनै चिठ्ठा जिताइदिनुस् न, प्लिज । आज पनि त्यही भन्छ, भोलि पनि फेरि भन्छ... प्लिज । एक दिन भगवान् उसको सामु आएछन् र, भनेछन्— ए मान्छे, लटरी जित्नका लागि तिमीले एउटा टिकट त किन्नैपर्छ । सुरुमा टिकट त किन... ।’


हो, जीवन भन्नु यही हो कि ? केही प्रयास त गर्नैपर्छ, प्रयत्न हुनैपर्छ । नभए कसरी केही पाउन सकिएला ? सायद भगवान्ले मलाई प्रेमकुमारी भेटाइदिएका होलान् । तर, यसका लागि म नेपाल गएको थिएँ नि त, अनेक चुनौती बेहोरेर । हो, यही हो जीवन ।
सायद यो मैले काटेको त्यही लटरी टिकट हो, नेपाल जाने निर्णय । अनि मेरो चिठ्ठा हो— पीके चौधरी, जामुनखाडी ।
[email protected]

कोसेली

धो तरापकी 'बाइकवाली'

- कान्तिपुर संवाददाता

समुद्र सतहबाट झन्डै चार हजार तीन सय मिटर उचाइ । अग्ला हिमशृंखलाले घेरिएको समथर धो तराप । दायाँतिर सुस्तरी बगेको धो खोला । कलाङ, धो, ताक्सी, सिमेन्ट, तिन्जे, पोल्दे, छार्कालगायतका स्थानमा माटाले छाएका सुन्दर घर । सिस्योल खोलादेखि तिब्बतको सीमासम्मै सरर चल्छन् तीन सय ५० भन्दा बढी मोटरसाइकल । एक बस्तीबाट अर्को बस्ती होस् या भेडीगोठ जान, स्कुलमा बच्चा पुर्‍याउन मोटरसाइकल मुख्य साधन बनेको छ । ताक्सीकी ३३ वर्षीया पेमा हाम्जोको दिनचर्या मोटरसाइकलबाटै सुरु हुन्छ । तिब्बती नाका मरिम लाबाट सामान ओसार–पसार गर्न र गाउँ घुम्न वा पाहुना बोक्न पेमाको यातायातको साधन मोटरसाइकल नै हो । उनका श्रीमान् छेप्तेन गुरुङको पनि अलग्गै मोटरसाइकल छ ।


बुद्धडोल्पो गाउँपालिकाभित्रका आधा दर्जन गाउँमा मोटरसाइकल गुडिरहेका छन् । सबै चिनियाँ । चिनियाँहरूलाई यार्चागुन्बु बेचेर किनिएका हुन् । मोटरसाइकल हाँक्नेहरू अधिकांश पुरुष । यी सबै अगस्टमा खुल्ने मरिम लाबाट भित्र्याइएका हुन् । सुन्दर धो तराप उपत्यकाभरिका गाउँहरूमा मोटरसाइकल हाँक्ने पेमा एक्ली महिला हुन् । ‘दुई वर्ष भयो मोटरसाइकल चलाउन थालेको’ ताक्सीमा होटलकी मालिक्नी पेमा भन्दै थिइन, ‘चलाउँदाचलाउँदै सिकियो, अहिले सजिलो भएको छ ।’ पेमासँग मात्र होइन मोटरसाइकल चलाउने कोहीसँग लाइसेन्स छैन । यहाँ ‘चेक गर्ने’ पनि कोही छैन । सुरुमा महिलाले मोटरसाइकल चलाएको देखेर केहीले कुरा पनि काटे । उनी भने बेपरबाह हाँकिरहेकी छन् । तीन वर्षयता धो तरापका सबै घरमा मोटरसाइकल छन् । कतिपयले घोडा बेचेरसमेत मोटरसाइकल किनेका छन् । गाउँ डुल्न, नाका जान र गोठ जान घोडा प्रयोग गर्नेहरू घटेका छन् ।

शब्द/तस्बिरः अब्दुल्लाह मियाँ