You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

१७ विभाग थप्ने देउवाको प्रस्ताव

पौडेल पक्ष रूष्ट
- कुलचन्द्र न्यौपाने

(काठमाडौं) - कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४५ वटा पुर्‍याउने प्रस्ताव गरेका छन् । महाधिवेशनको संघारमा विभाग बढाउने प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ । कांग्रेसमा देउवाले १७ वटा विभाग थप्न प्रस्ताव गरेपछि संस्थापन इतरपक्ष रुष्ट बनेको हो । महाधिवेशनलाई केन्द्रित गरी सभापतिले आफ्ना पक्षका नेताहरूलाई व्यवस्थापन गर्न यस्तो प्रस्ताव ल्याएको भन्दै इतरपक्षले विरोध जनाएको छ । विभाग बढाउने कि नबढाउने भन्ने विवादले बिहीबार
केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको थियो । कांग्रेस नेता शेखर कोइरालाका अनुसार उपनिर्वाचनका विषयमा छलफल गर्ने एजेन्डा राखेर बैठक बोलाइएको थियो तर आकस्मिक रूपमा विभागको संख्या थप्ने प्रस्ताव ल्याइयो ।
बैठकको अघिल्लो दिन देउवा निवास बूढानीलकण्ठमै बसेको पदाधिकारी बैठकमा एक प्रतिनिधिसभा र तीन प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि पार्टीले तोक्ने उम्मेदवारका विषयमा छलफल भएको थियो । उम्मेदवार तय गर्ने आधिकारिक निकाय संसदीय समिति हो । एक वर्षअघि विघटन भएको समिति पुनः गठन नभएका कारण केन्द्रीय कार्यसमितिबाट पदाधिकारीमा अधिकार प्रत्यायोजित गरेर उम्मेदवार तय गर्ने निधो भएको थियो । त्यहीअनुसार निर्णय गर्न केन्द्रीय बैठक बोलाइएको थियो । एकाएक विभाग बढाउने प्रस्ताव आएपछि बैठक बस्नै सकेन । ‘सभापतिको यस्तो कार्यशैलीले पार्टीलाई कमजोर बनाउने काम गर्दै आएको छ,’ कोइरालाले भने, ‘भोलि कसले जित्छ, कसले हार्छ आफ्नो ठाउँमा छ तर पार्टी सत्तालाई आफ्नो प्रयोजनका निम्ति प्रयोग गरेर संगठन कमजोर बनाउन हुन्न । पक्कै पनि सभापतिका वरिपरिका व्यक्तिहरूको दबाबमा यस्तो प्रस्ताव आएको हुनुपर्छ ।’
गत पुसको महासमिति बैठकबाट पारित नयाँ विधानले केन्द्रीय विभाग २८ वटा हुने व्यवस्था गरेको छ । तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको कार्यकालमा विभाग थपेर ४२ वटा पुर्‍याइएको थियो । विभाग बढी भएको भन्दै आलोचना भएपछि विधान संशोधनका बेला २८ वटामा सीमित गरियो । विधान संशोधन भएको दस महिनामै विभाग बढाउने प्रस्ताव सभापति देउवाले गरेका हुन् । ‘त्यतिबेला संख्या किन घटाइयो र अहिले किन बढाउनुपर्‍यो ?’ उनको प्रश्न छ, ‘कार्यकाल सकिन तीन महिना बाँकी भएका बेला महाधिवेशनको तयारीतिर जाने कि विभागको संख्या बढाउँदै केन्द्रीय सदस्यहरूको व्यवस्थापन खोज्ने ?’

सभापतिनिकट सहमहामन्त्री प्रकाशशरण महतले भने विभागलाई व्यावहारिक र काममा प्रभावकारिता ल्याउनकै लागि संख्या बढाउन खोजिएको बताए । कतिपय विभागले धेरै क्षेत्र हेर्नुेपर्ने भएकाले कार्यविभाजनमा पनि विभागको संख्या बढाउन आवश्यक भएको तर्क उनको छ । महतका अनुसार जनसम्पर्क समिति, वैदेशिक रोजगार, आप्रवासन एउटै विभागले हेर्न सक्दैन । अहिले यी सबै क्षेत्र हेर्न एउटै विभाग राखिएको छ । सबै भ्रातृसंस्थालाई एउटै विभागले गाइड गर्न सक्दैन । शुभेच्छुक संस्थालाई पनि एउटै विभागले भ्याउँदैन ।
‘यस्ता विभागहरूलाई व्यावहारिक बनाउन र काममा प्रभावकारिता ल्याउन संख्या बढाउन खोजिएको हो,’ महतले थपे, ‘यसले संगठनलाई राम्रो गर्ने हो । अन्य कुनै कारण होइन ।’ केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानबाहेक देउवाले कार्यकाल सकिने बेलासम्म एउटा पनि केन्द्रीय विभाग गठन गरेका छैनन् । तत्कालीन विधानले दुई महिना र नयाँ विधानअनुसार पनि ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने व्यवस्था छ । देउवाको चार वर्षको कार्यकाल आगामी फागुन मसान्तबाट सकिँदै छ ।
वरिष्ठ नेता पौडेल पक्षले कार्यकाल सकिने बेला विभाग गठन नगर्न र संख्यासमेत नबढाउन देउवालाई भेटेरै आग्रह गरेका छन् । देउवाले भने विभाग प्रमुख बनाउने केन्द्रीय सदस्यहरूको नाम बारम्बार माग्दै आएका छन् । २८ विभागमा ११ विभाग संस्थापन इतरपक्षलाई दिने तयारी देउवाको छ । संख्या कम हुँदा आफ्नो पक्षका केन्द्रीय सदस्यको व्यवस्थापनमा कठिनाइ भएपछि उनी संख्या बढाउनतिर लागेका हुन् । ‘पार्टी एकढिक्का भएर उपनिर्वाचनमा लाग्नुपर्ने बेला विभाग गठनको प्रस्ताव ल्याएर विवाद खडा गर्न खोजिएको छ,’ कोइरालाले भने, ‘उपनिर्वाचनभरि पार्टीमा विभाग, नेविसंघ, तरुण दल र अन्य भ्रातृसंस्थाका विषय झिक्नै हुन्न ।’
सहमतिबाटै विभाग गठन गर्ने सदाशयता राखेरै सभापति देउवाले विभाग गठनमा ढिलाइ गर्दै आएको दाबी महतको छ । ‘विभाग गठन गर्दा केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजान पनि पर्दैन, कसैलाई सोध्न पनि पर्दैन, विशुद्ध सभापतिको अधिकारको विषय हो,’ महतले भने, ‘पार्टीभित्रको एकता कायम होस् भनेरै सहमतिमा गठन गर्न खोज्नुभएको छ । नाम माग्दै आउनुभएको छ । सहमति खोज्दाखोज्दै ढिलाइ भएको हो ।’
विभाग बनाउने अधिकार सभापतिको भए पनि संख्या थप्ने प्रस्तावलाई भने केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने हुन्छ । बिहीबार यही विषयले केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेपछि १४ गते अर्को बैठक बोलाइएको छ ।

मुख्य पृष्ठ

अनुसन्धान टुंग्याइँदै

रौतहट विस्फोट प्रकरण
- शिव पुरी

(रौतहट) - बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रूप दिने तयारी गरेको छ । घटनासित जोडिएका धेरै पात्र फेला पारेको प्रहरीले जनाएको छ ।
१२ वर्षअघिको बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका आलममाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रो पटक प्रहरीलाई थप ८ दिन म्याद दिएको छ । प्रहरीले तिहारपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदालतमा पेस गर्ने भएको छ । सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर बम विस्फोटमा घाइते भएको र उनीहरूलाई जिउँदै इँटाभट्टामा हालेको भन्दै उनीहरूका परिवारजनले आलमलगायत विरुद्ध किटानी जाहेरी दिएका थिए । त्यस बेलाको घटनामा मारिएकाको संख्या भने यकिन हुन सकेको छैन ।
पहिलो सविधानसभा निर्वाचनको अघिल्लो दिन आलमकै गाउँ राजपुर फरदहवास्थित उनका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । दिवंगत इद्रिस पूर्वमन्त्री हुन् । विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा जलाइएको आरोप आलममाथि छ । बम विस्फोट नै नभएको भनी आलमले दिएको बयान झूटो भएको प्रहरीको ठम्याइ छ । झूटो बोले–नबोलेको पत्ता लगाउन प्रहरीले पोलिग्राफ परीक्षण गराउन खोज्दा आलमले मानेका छैनन् ।
तत्कालीन जिल्ला प्रहरी प्रमुख लक्ष्मण न्यौपानेकै सहयोगमा आलमले धेरै प्रमाण नष्ट गरेको पाइएको छ । एसपी न्यौपाने कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनमा मारिइसकेका छन् । घटना लुकाउन सहयोग गरेको भनिएका सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामा जागिरबाट निवृत्त छन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीसमेत निवृत्त
छन् । उनीहरू पनि सोधपुछको दायरामा पर्न सक्ने प्रहरी स्रोतले जनाएको छ ।
घटनाका बेला राजपुरमा खटिएका तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदी र घटनापछि अनुसन्धान अधिकृत तोकिएका डीएसपी राजीव बस्नेतलाई सोधपुछका लागि जिल्ला प्रहरीले बोलाइसकेको छ । सुवेदी हाल पोखरा गणमा डीएसपी छन् । उनलाई घटनास्थल पुग्नै लाग्दा एसपी न्यौपानेले सञ्चारसेट मार्फत तत्कालै जिल्ला बोलाएको स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले अनुसन्धानका क्रममा देखेका, सुनेका र घाइते लगायतले सहयोग गरेको बताए । ‘हामी थप प्रमाण जुटाउन लागिपरेका छौं,’
उनले भने, ‘घटनासित सम्बन्धित मानिस सम्पर्कमा आउने क्रम जारी रहेकाले अनुसन्धान लम्बिएको हो ।’ ज्यानको जोखिमले नबोली बसेकाहरूले अहिले घटनाबारे धमाधम बताइरहेको प्रहरीले जनाएको छ । सांसद आलम कर्तव्यज्यान मुद्दामा गएको असोज २६ गते पक्राउ परेका हुन् ।

प्रहरीले मृतकको कपडा र खरानी पनि जाँचका लागि पठाएको छ । घटनामा मारिएको भनी दाबी गरिरहेका दुवै परिवारबाट बाँकी रहेको कपडा संकलन गरी जाँचका लागि पठाइएको हो । घाइतेलाई जलाइएको भनिएको इँटाभट्टाको खरानी पनि परीक्षणका लागि पठाइएको छ । यसअघि तत्कालीन एसपी न्यौपानेले आलमलाई जोगाउन अर्कै इँटाभट्टाको माटो परीक्षणका लागि काठमाडौं पठाइएका थिए । घाइतेलाई जलाइएको इँटाभट्टालाई मासेर खेत बनाइएको छ ।
प्रहरीले घटनासित जोडिएका धेरै पात्रसित लिइएको बयानबाट घटना भएको पुष्टि हुने दाबी गरेको छ । विस्फोटबाट क्षति पुगेको गोठलाई रातारात दुरुस्त पार्न खटेका मजदुरले समेत प्रहरीसमक्ष साबिती बयान दिएका छन् । स्रोतका अनुसार उनीहरूले आफूले घरको मर्मत गरेको, अन्यत्रबाट माकुराको जालो ल्याएर पुरानो देखाउने प्रयास गरेको र उक्त घरमा भुस ल्याएर हाल्ने काम गरेको बयान दिएका छन् ।
प्रहरीले घाइतेलाई जिउँदै जलाउँदा चिम्नीभट्टामा खटिएका कामदारको प्रहरीले खोजी गरिरहेको छ । त्यस बेलाका मजदुरहरू धेरैजसो भारतीय रहेको प्रहरीले सुराकी पाएको छ । सर्वोच्च अदालतको मिसिलका साथै अधिकारकर्मीहरूको स्थलगत अध्ययन प्रतिवेदनले समेत घटना लुकाइएको र प्रहरीले फितलो अनुसन्धान गरेको निष्कर्ष निकालेको थियो । घटनास्थल पुगेका अधिकारकर्मी दीपेन्द्र झामाथि उसै बेला त्यहाका स्थानियले दुर्व्यवहारको प्रयाससमेत गरेका थिए । अहिले पनि सञ्चारकर्मीलाई आलमका मानिसले घटना भएको गोठको तस्बिर खिच्न दिएका छैनन् ।

कांग्रेसको दबाब जुलुस
कर्तब्यज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका सांसद आलमलाई रिहाइका लागि दबाब दिन कांग्रेसले शुक्रबार सदरमुकाम गौरमा मौन जुलुस प्रदर्शन गरेको छ । ठूलो संख्यामा सहभागी नेता कार्यकर्ताले हातमा ब्यानर बोकेर आलमको रिहाइ र सत्यतथ्य छानबिनको माग गरेका थिए ।
जुलुसमा कांग्रेसबाट निर्वाचित मेयरहरूसमेत सहभागी थिए । गौर नगरपालिका परिक्रमा गरेको जुलुस बीपी चोकमा आई कोणसभामा परिणत भएको थियो । सभामा पार्टीका जिल्ला सभापति यादवले सांसद आलमलाई १२ वर्षअघिको झुटो मुद्दामा फसाउन खोजिएको आरोप लगाए । पूर्वमन्त्री ब्रजकिशोर सिंहले बम विस्फोट नै नभएको र मृत्यु भएको भनिएका त्रिलोक र ओसीको चरित्र खराब रहेको आरोप लगाए ।
प्रवक्ता विश्वप्रकाश शर्माले अनुसन्धानमा सघाउनुपर्ने भन्दै आन्दोलन नगर्न कार्यकर्तालाई निर्देशन दिएका थिए । पार्टीका जिल्ला सभापति कृष्णा यादव लगायतका नेता, कार्यकर्ताले झन्डा नबोके पनि मौन जुलुस निकालेका हुन् ।

मुख्य पृष्ठ

राजमार्गमा दिनहुँ ह्वीलचियर

- प्रताप रानामगर

(दमौली) - पृथ्वी राजमार्गको सवारी चापलाई दिनहुँ छिचोल्दै एउटा ह्वीलचियर म्याग्दे–१ गुणादीको महेन्द्र मावितर्फ मोडिन्छ । ह्वीलचियरमा १५ वर्षीया नवीना खनाल हुन्छिन् । गुडाउँछन् उनका १४ वर्षीय भाइ आनन्द ।
नवीना २ र आनन्द ९ कक्षामा पढ्छन् । शारीरिक रूपमा अशक्त दिदीको पढ्ने रहर पूरा गर्न भाइले स्कुल लैजाने र घर फिराउने गरेका हुन् । ‘दिदीलाई लेखपढ गर्न रहर छ,’ आनन्द भन्छन्, ‘त्यसैले लाने–ल्याउने गर्छु ।’
घरबाट स्कुल पुग्न २० मिनेट लाग्छ । राजमार्गसम्मको बाटो अलि ओरालो छ । कहिलेकाहीँ आनन्दलाई ह्वीलचियर सम्हाल्न गाह्रै पर्छ । गाडीको निकै चाप हुने भएकाले उत्तिकै सतर्क रहनुपर्छ ।
नवीना पढाइमा लगनशील भएको कक्षा शिक्षक देवनारायण श्रेष्ठले बताए । १ कक्षाबाट उत्तीर्ण हुँदा उनी तृतीय भएकी थिइन् । ‘नवीनाका लागि विशेष कक्षा छैन,’ उनले भने, ‘अरू विद्यार्थीसँगै पढाउँदै आएका छौं ।’ उनी अरू साथीजस्तै बेन्चमा बस्न सक्दिनन् । कक्षामा पनि ह्वीलचियरमै हुन्छिन् । खाजा भने साथीहरूसँगै खान्छिन् । उनका दुवै गोडा र दायाँ हात चल्दैनन् । अपांगतामैत्री नभएकाले विद्यालय समयमा शौचालय जान पाउन्नन् ।
जन्मँदा नवीनाका गोडा चल्थे । वर्ष दिन नपुग्दै गुन्द्रीमा अल्झेर लडेपछि चल्न छाडे । क्याल्सियमको कमीले गोडाको हड्डी भाँच्चिएको चिकित्सकले बताएका थिए ।
नवीनाका बुबा नीरज नायर भारतीय हुन् । उनी ७ वर्षअघि भारत गए । सँगै गएकी आमा विमलाको उतिबेलै मृत्यु भयो । आमा बितेपछि फर्केका बुबा एक रात भाइसहित नवीनालाई कोठामा थुनेर बेपत्ता भए । घरबेटीले नवीनाका मामालाई खबर गरेपछि उनीहरूको उद्धार गरिएको थियो । त्यसयता दिदीभाइ मामाघरको आश्रयमा छन् ।
त्यहाँ उनीहरूलाई हजुरआमा रञ्जता
खनालले रेखदेख गर्दै आएकी छन् । ‘नातिनीको लालनपालन गर्न अरू बालबालिका स्याहारेजस्तो सजिलो छैन,’ खनालले भनिन्, ‘तर म बाँचुन्जेल रेखदेख गर्छु । मै नभएपछि चाहिँ कसले गर्छ भन्ने चिन्ता लाग्छ ।’

Page 2
समाचार

'शेरबहादुर र रामचन्द्रजी अब किताब लेखेर बस्नुपर्छ'

- कान्तिपुर संवाददाता

कांग्रेसमा कोइराला परिवारका तीन सदस्य राजनीतिको केन्द्रबिन्दुमा छन् । बीपीपुत्र शशांक पार्टीका महामन्त्री छन् भने गिरिजाप्रसादकी छोरी सुजाता र केशव (बीपीका भाइ) का छोरा शेखर कोइराला केन्द्रीय सदस्य । यी तीन सदस्यमध्ये शशांक र शेखरबीचको सम्बन्ध यति बेला दाजुभाइमा मात्रै सीमित छैन, उनीहरु आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा कसले दाबी गर्ने भन्ने प्रतिस्पर्धामा छन् । केन्द्रीय राजनीतिमा कोइराला परिवारका यी तीन सदस्यको प्रवेश एकैसाथ भएको थियो । पार्टीको एघारौं महाधिवेशनमा शशांक निर्वाचित केन्द्रीय सदस्य बनेका थिए भने शेखर मनोनीत सदस्य । संसदीय राजनीतिमा पनि उनीहरूको प्रवेश एकसाथै भयो । ०६४ सालको संविधानसभा निर्वाचनपछि शशांक निरन्तर चुनाव जित्दै आएका छन् भने शेखरले दुई निर्वाचन हारे । पछिल्लो संसदीय निर्वाचन हारेदेखि नै पार्टी नेतृत्वका लागि उनले दौडधुप थालेका छन् । कर्णाली र सुदूरपश्चिमका ४ बाहेक सबै जिल्ला भ्रमण गरिसकेका शेखरसाग कान्तिपुरका कुलचन्द्र न्यौपानेले शनिबार गरेको कुराकानी :

बिहीबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक किन बस्न नसकेको ?
उपनिर्वाचन प्रयोजनका लागि छलफल गर्न बैठक बोलाइएको थियो । तर अचानक पार्टीका केन्द्रीय विभागको संख्या थप्ने कुरा सभापतिजीबाट आयो । विधानमा आवश्यकताअनुसार संख्या थप्ने प्रावधान त छ । तर केन्द्रीय कार्यसमितिकै कार्यकाल सकिन अब तीन महिना मात्रै बाँकी छ । विभाग बनेको पनि छैन । विभाग बनेकै भएको भए कुन–कुन थप्नुपर्ने आवश्यक हो, सोच्न सकिन्थ्यो । यतिका समयसम्म विभाग बनाउन नसक्ने र अहिले कार्यकाल सकिने बेलामा विभागको संख्या थप्ने कुराले अचम्मित छु । अहिले त हाम्रो प्रयत्न उपनिर्वाचनमा केन्द्रित हुनुपर्ने हो । विवाद बढाउने काम ल्याउन नहुने हो । सभापतिले त्यसरी विभागको कुरा ल्याउँदा बैठक बस्न सकेन ।

विभागको संख्या थप्ने कुरा किन आएको होला ?
आकस्मिक रूपमा प्रस्ताव आएको छ । केन्द्रीय कार्यसमिति ८५ जनाको छ । केही पदाधिकारी छन् । कतिलाई विभाग प्रमुख बनाएर व्यवस्थापन गर्ने सभापतिजीको मनसाय होला । नेताहरूको व्यवस्थापनका नाममा विभागको संख्या थप्ने कुरा राम्रो भएन । सोझै महाधिवेशनको तयारीमा जानुपर्छ ।

विभाग गठन गर्न आवश्यक छैन भन्ने तपाईंहरूको तर्क हो ?
हो, अब विभाग बनाउनु जरुरी छैन । २८ बाट ४५ वटा विभाग बनाउने कुरा किन र कसरी आयो ? सभापतिजीले महाधिवेशनलाई हेरेर यस्तो प्रस्ताव ल्याउन लाग्नुभएको होला । यसले कांग्रेसलाई कमजोर बनाउँछ । भोलि कसले जित्छ, कसले हार्छ आफ्नो ठाउँमा छ । तर पार्टी सत्तालाई आफ्नो प्रयोजनका लागि दुरुपयोग गर्नु राम्रो होइन । पक्कै पनि सभापतिका वरिपरिका व्यक्तिले दबाब दिएर यस्तो कुरा आएको होला ।

तपाईं नेतृत्वको आकांक्षी हुनुहुन्छ । तयारी कसरी अघि बढ्दै छ ?
चाडपर्वका बेलामा खासै हिँड्डुल भएको छैन । चाडपर्व सकिनासाथ उपनिर्वाचनमा व्यस्त हुनुपर्नेछ । तैपनि साथीभाइसँग भेटघाट भइरहेको छ । अहिले सभापतिमा उठ्छु नै भनेर ‘कमिट’ गरिसकेको छैन । छलफलमै छु । कांग्रेस कमजोर अवस्थामा छ । दुई तिहाइको सरकार छ । यो प्रतिकूल अवस्थामा जुध्न सक्ने कांग्रेस बनाउनुपर्छ । होइन भने कांग्रेसको भविष्य राम्रो छैन । निर्वाचनमा पार्टी हार्‍यो । त्यसलाई अन्यथा लिन हुन्न । लोकतान्त्रिक पद्धतिमा हारजित हुन्छ । तर निर्वाचनपछि यहाँ आइपुग्दासमेत पार्टी संगठित हिसाबले अघि बढ्ने अवस्था देखिएको छैन । भ्रातृ संस्थाहरूको अवस्था नाजुक छ ।

अहिलेको नेतृत्वबाट पार्टी चल्दैन भन्न खोज्नुभएको हो ?
मैले त्यसो भन्न खोजेको होइन । अहिलेसम्म कांग्रेस जसरी अघि बढिरहेको छ, संगठन जसरी कमजोर बन्दै गएको छ, यसले अहिलेको २१ औं शताब्दीको नेपाल र दुई तिहाइको सरकारसँग सामना गर्न सक्दैन ।

यही सोचेर तपाईंले पार्टी नेतृत्वका लागि दुई वर्ष अगाडिदेखि नै तयारी थाल्नुभएको हो ?
एकदम हो, तयारी गर्दै छु । तर साथीभाइसँग सल्लाह नगरी अघि बढ्न सकिन्न । त्यसैले जिल्ला–जिल्ला घुम्दै छु । केन्द्रका साथीहरूको सहयोगमा मात्रै चुनाव जितिँदैन । जिल्ला र गाउँका साथीहरूको भोट नै निर्णायक हुन्छ । त्यसैले जिल्लाहरूमा पुगेर सल्लाह गर्दै छु ।


अहिलेसम्म कति जिल्ला पुग्नुभयो ?
कर्णालीका दुई र सुदूरपश्चिमका दुई जिल्लाबाहेक सबै घुमिसकेको छु । अब फेरि जिल्ला जाने कार्यक्रम बनाउँदै छु ।


जिल्ला पुग्दा स्थानीय नेता–कार्यकर्ताको भावना कस्तो पाउनुभएको छ ?
जिल्लाका साथीहरू पनि अहिलेको नेतृत्वबाट पार्टी अघि बढ्न सक्दैन भन्नेमै हुनुहुन्छ ।


तपाईंहरूको घरमै प्रतिस्पर्धा चल्दै छ, एक हुने सम्भावना छ ?
सम्भावना छ । हामीहरूबीच छलफल हुँदै छ । छलफलले एउटा निचोड निकाल्छ भन्ने मलाई लाग्छ । एक जना नै उम्मेदवार हुन्छ भन्नेमा म ढुक्क छु ।
संस्थापन इतर पक्षबाट दुई जना उम्मेदवार हुनासाथ सभापति शेरबहादुर देउवाले नै चुनाव जित्नुहुन्छ भन्ने आकलन गरिँदै छ नि ?
म त्यस्तो भन्दिनँ । हरेक व्यक्तिको एउटा कालखण्ड हुन्छ । त्यो सकिएपछि उसको औचित्य समाप्त हुन्छ । सभापति र वरिष्ठ नेताले आज कांग्रेसलाई यहाँसम्म ल्याउन योगदान दिनुभयो । अब उहाँहरूको कालखण्ड समाप्त भएको छ । त्यस्तो कालखण्ड समाप्त नभएको इतिहासमा बिरलै हुन्छन् । जुन कांग्रेसमा एउटै व्यक्ति देखिनुभयो– गिरिजाप्रसाद कोइराला । ००७ सालमा क्रान्ति गर्नुभयो । ०४६ सालको आन्दोलनमा लाग्नुभयो । ०६२/०६३ को आन्दोलनको नेतृत्व आफैंले गर्नुभयो । यस्तो इतिहास विश्वमै कम हुन्छ । शेरबहादुरजी र रामचन्द्रजीले लोकतन्त्रका लागि लड्नुभएको छ । जेल जानुभएको छ । कांग्रेसलाई बचाएर यहाँसम्म ल्याइपुर्‍याउनुभएको छ । तर अब कालखण्ड परिवर्तन भइसक्यो । नयाँ परिस्थिति खडा भइसक्यो । उहाँहरूले पार्टीलाई नयाँ ढंगले अघि बढाउन सक्नुहुन्न ।


अब कोइराला परिवारमै पार्टीको नेतृत्व ल्याउनुपर्छ भन्ने मान्यता तपाईंहरूमा पलाएको हो ?
म त्यसो भन्दिनँ । कोइरालाले मात्रै नेतृत्व लिँदा कांग्रेस बाँच्छ भन्ने सोच गलत हो । हामीले काम गर्दै जाने हो । कार्यकर्तालाई विश्वास गर्ने हो । कार्यकर्ताले कोइराला र कोइरालाबाहेक जोसुकैलाई विश्वास गर्न सक्छन् । शेरबहादुरजीले पनि कार्यकर्ताहरूकै विश्वासमा जित्नुभएको हो । यद्यपि उहाँले कांग्रेस फुटाएकै हो । प्रजातन्त्र राजालाई बुझाएकै हो । तर पछि कांग्रेसमा साथीहरूले विश्वास गरे, शेरबहादुरजी सभापति हुनुभयो तर अब उहाँको कालखण्ड सकियो । कार्यकर्ताको विश्वासअनुसार काम गर्न पनि सक्नुभएको छैन । न त पार्टीलाई एक ढिक्का गर्नुभएको छ । न त पार्टीलाई मजबुत बनाई लैजानुभयो । अहिलेको परिस्थितिसँग जुध्न सक्ने व्यक्तित्व भएको नेतृत्व पार्टीले खोजेको छ । त्यो कोइराला होस् या नन कोइराला, अब त्यसको खोजी भएको छ । तर अहिलेको नेतृत्वबाट त्यो सम्भव छैन । उहाँहरू (देउवा–पौडेल) मा जुध्ने सामर्थ्य हराइसकेको छ ।


कोइराला परिवारमा तीन सदस्य हुनुहुन्छ । बेलाबखत लन्च र कार्यक्रममार्फत एकताको सन्देश पनि दिन खोज्नुहुन्छ । तर प्रतिस्पर्धा आफैंभित्र देखिन्छ नि ?
भाइटीकाका दिन हाम्रो भेट हुँदै छ । बहिनी (सुजाता) ले भाइटीकाको निम्तो दिइसकेकी छन् । जानैपर्छ । दसैंको बेलामा श्रीहर्ष कोइरालाले बोलाउनुभयो । भेटघाट भयो । तपाईंहरूलाई थाहा नभएको मात्र हो, यस्तो भेटघाट हामी गरिरहन्छौं ।


सभापतिको उम्मेदवार तपाईं कि महामन्त्री शशांक ?
हामीबीच कुराकानी चल्दै छ । को हुने भन्नेमा प्रस्ट भएको छैन । मलाई भेट्न मेरा, शशांक र सुजाताकै शुभचिन्तक आउँछन् । मलाई भेट्दा उनीहरू दाइ तपाईं नै हो भन्छन् । मैले उनीहरूलाई खबरदार गर्दै यस्तो नभन भन्छु । किनकि उनीहरू भोलि सुजाताकहाँ जान्छन्, दिदी तपाईं नै हो भन्छन् । पर्सि शशांककहाँ जान्छन्, दाजु तपाईं नै हो भन्छन् । म चाहन्छु, मैले जस्तै बहिनी र भाइले पनि खबरदारी गरून् । कसैको लहडमा हामी बग्नुहुन्न ।


जो उम्मेदवार भए पनि म पछि हट्दिनँ भनेर तपाईंले भन्दै आएको चर्चा सुनिन्छ नि ?
मेरो निश्चित (६९ वर्ष) उमेर भइसक्यो । म सभापतिजी, वरिष्ठ नेता जस्तो सधैं राजनीति गर्छु भन्दिनँ, गर्दा पनि गर्दिनँ । सायद यस पटक अवसर पाएँ भने अघि बढ्छु । अबको कार्यकालपछि युवापुस्तालाई अघि बढाउनुपर्छ भन्नेमा छु । त्यसपछि म पदीय राजनीतिबाट टाढा रहन्छु । ‘कनसाइन्स किपर’ का रूपमा पार्टीमा रहन्छु ।


सभापतिको दाबा गरेर उपसभापति या महामन्त्रीका लागि बार्गेनिङ गर्नुभएको त होइन ?
त्यो सम्भवै छैन । मलाई पछि उठ्नु पनि छैन भने अहिले उपसभापति या महामन्त्री किन हुन्छु ? प्रस्ट हुनुहोस्, म १४ औं महाधिवेशनपछि उठ्दिनँ । पछि उठ्नु नै छैन भने म किन उपसभापति या महामन्त्री हुन्छु ?


महामन्त्री शशांक र तपाईंबीचमै भिडन्त हुने त होइन ?
मलाई त्यस्तो पनि लाग्दैन ।


त्यसो भए मिल्नुहुन्छ ?
कोइराला परिवारको एउटा लिगेसी छ । तर लिगेसी सबै होइन । कोइराला परिवार बाहिर पनि राजनीतिमा धेरै हुनुहुन्छ । शेरबहादुरजी नै नन कोइरालाबाटै नेतृत्वमा पुग्नुभएको हो । तर अहिले उहाँबाट पार्टी चल्न सक्ने देखिएन । अब शेरबहादुरजी र रामचन्द्रजी ‘कनसाइन्स किपर’ भएर बस्नु ठीक हुन्छ । लोकतान्त्रिक आन्दोलनको ठूलो अनुभव छ । अब किताब लेखेर बस्दा राम्रो हुन्छ ।


तपाईंले देउवा र पौडेल दुवैबाट पार्टी चल्न सक्दैन भन्न खोज्नुभएको हो ?
हो, राजनीतिमा सबैको कालखण्ड हुन्छ भन्ने कुरा उहाँहरूले बुझ्नुपर्छ । बुझ्नुहुन्न भने लड्नुहुन्छ, भिड्नुहुन्छ । हामी त तयार नै छौं ।


तपाईंले लिगेसीको लाभ कति पाउनुहुन्छ ?
म कर्ममा विश्वास गर्छु । कोइराला भएर अलिकति लिगेसी त जोडिन्छ । तर मेरा लागि त्यसको माने छैन । एकातिर शशांक बीपीको छोरा, अर्कोतिर गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता । मेरो कुनै माने नै भएन । कोइराला भन्ने मात्रै हो ।


तपाईंको अंकगणित कस्तो छ ?
केही साथीले कोइराला एक ठाउँमा हुनुपर्छ भन्नुभएको छ । अर्कोतर्फ हाम्रो समूह पनि छ । त्यो समूहलाई मिलाउनुपर्छ । त्यसै हामफालेर मात्रै हुन्न । यस विषयमा रामचन्द्रजीलगायत सबै सिनियर साथीसँग सघन कुराकानी भइरहेको छ ।


सहमति भएन भने तपाईंको आफ्नै टिम बन्छ कि ?
कांग्रेसको टिम छँदै छ, किन बनाउने मैले अर्को टिम ? सहमति हुन्छ । विश्वासमा हिँड्दै छौं । काठमाडौंमा बस्ने साथीहरूको कुरा गर्दिनँ, काठमाडौंले दिमाग गडबडाइदिन्छ । काठमाडौं धेरै बस्यो भने मेरो दिमाग पनि गडबडिन्छ । तलका साथीहरूको भनाइ महत्त्वपूर्ण हो ।


आखिर गाउँसम्मै गुटको प्रभाव त पुगेकै छ नि ?
त्यसैले त गाउँगाउँमा पुग्दै छु । जिल्लामा शेरबहादुरजी, रामचन्द्रजी, कोइरालाजी, सिटौलाजीका कार्यकर्ता पनि भेट्दै छु । अर्जुन, रामशरणजीका कार्यकर्ता पनि भेट्दै छु । जिल्लामा जाँदा भेट हुन्छ । तर काठमाडौंमा भेटिन्नन् ।

समाचार

एक्स्काभेटरले हानिएकी महिला उपचारका लागि भारत

- तृप्ति शाही

(बैतडी) - सडक निर्माणसम्बन्धी विवादमा स्थानीयमाथि एक्स्काभेटर चलाइँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । दशरथचन्द–९ ग्वाल्लेकमा चिलाउने–पार्स सडक निर्माणक्रममा भएको झडपमा उनलाई एक्स्काभेटरले हुत्याएको थियो ।
घटनापछि पटकपटक बेहोस हुने समस्या देखिएकी गौरीलाई जिल्ला अस्पताल, धनगढी र कोहलपुरमा उपचार गराउँदा पनि निको नभएपछि भारत लगिएको पति जगदीशले बताए । उपचार खर्च जुटाउन मुस्किल परिरहेको पनि उनले सुनाए । ‘कोहलपुरमा दस दिनपछि आउनु भनी डिस्चार्ज गरिए पनि फर्किने बेला बाटोमै बेहोस हुन थालेकाले भारत लगेका हौं,’ उनले भने ।
सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका क्रममा दुई पक्षबीचको विवाद झडपमा बदलिएको थियो । प्रहरीले घटनामा संलग्न चालक किशोर बोहरा, एक्स्काभेटर मालिक भवानीदत्त जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।


कांग्रेस–नेकपा आरोप–प्रत्यारोप
नेपाली कांग्रेसको केन्द्रीय छानबिन समितिले उक्त घटना सत्ता र शक्तिको आडमा भएको निष्कर्ष निकालेको छ । समितिले शनिबार पत्रकार सम्मेलन गरी छानबिनको निष्कर्ष सुनाएको हो । घटनाको भोलिपल्ट कांग्रेसले पूर्वसभासद तथा पूर्वकञ्चनपुर जिल्ला सभापति बहादुरसिंह थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । डोजर मालिकसहित अन्यले दबाबमा पारेर चालकलाई एक्स्काभेटर चलाउन बाध्य बनाएको पाइएको समिति संयोजक थापाले बताए । बोहराले एक्स्काभेटर मालिकसँग कुराकानी गर्दा दबाब थेग्न नसकेर चलाएको बयान दिएकाले उनीहरू पनि मुख्य दोषी रहेको उनको आरोप थियो । घटना हुनुमा स्थानीय प्रशासनको पनि कमजोरी रहेको कांग्रेसको निष्कर्ष छ । निर्माणकार्य रोक्न स्थानीय बासिन्दा जिल्ला प्रशासन पुगे पनि ध्यान नदिनु त्रुटि भएको समितिले औंल्याएको छ ।
यस्तै नेकपा बैतडीले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला अध्यक्ष सुरेन्द्र पालले हस्ताक्षर गरेको विज्ञप्तिमा सडक खन्न अनुमति दिइएको, मेयर आफैंले सडक उद्घाटन गरेको र दुइटा सडक निर्माणका लागि पनि नगरपालिकाले नै आश्वासन दिएको उल्लेख गरेको तथा कांग्रेसका क्रियाशील सदस्य गोपालदत्त जोशीलाई समितिको अध्यक्ष बनाएर अर्को सडक खन्न लगाउँदा विवाद भएको उल्लेख छ । कांग्रेसनिकट शिक्षक दुर्गादत्त जोशीको उक्साहटमा सडक निर्माण गर्ने पक्षमाथि एक्कासि आक्रमण भएको नेकपाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।


छानबिन समितिको म्याद थपियो
घटना छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रजिअ लोकेन्द्रसिंह नेगीको संयोजकत्वमा गठन गरेको समितिको म्याद ५ दिन थप गरिएको छ । घटनाको भोलिपल्टै कात्तिक ६ गते २ दिनभित्र प्रतिवेदन बुझाउन समिति गठन गरिएको थियो ।
समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्द, नगरपालिका र पूर्वाधार कार्यालयका एक/एक इन्जिनियर र अनुसन्धान कार्यालयका एक प्रतिनिधि छन् । ‘सबै काम सकिएको छैन । त्यसैले म्याद थपिएको हो । बिदाको दिन नगनिने भएकाले पनि समय चाहिएको हो । अब समयमै प्रतिवेदन बुझाउँछौं,’ समिति सदस्य चन्दले भने ।

समाचार

अग्नि नियन्त्रकको हत्या

- कान्तिपुर संवाददाता

पर्सा (कास)– वीरगन्ज महानगरपालिका कार्यालयका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्या भएको छ । ४० वर्षीय चौरसियाको शव प्लास्टिक र तन्नामा बेरेर फालिएको अवस्थामा वीरगन्ज महानगरपालिका–१६ स्थित नगवा पोखरीको डिलमा शुक्रबार भेटिएको थियो । प्रहरीले हत्याको कारण र संलग्नको पहिचान गर्न सकेको छैन । वीरगन्ज नगरवासी चौरसिया बिहीबार घरबाट पैसा उठाउन भनी हिँडेका थिए । कानबाट रगत बगिरहेको र नाइटोमुनि धारिलो हतियारले काटेको घाउ देखिएको थियो । बिहीबार साँझदेखि नै उनको मोबाइल अफ थियो । चौरसियाले धेरैलाई ब्याजमा पैसा लगाएको स्थानीय बताउँछन् । ब्याज संकलनका क्रममा कसैसँग उनको विवाद भएको र त्यसै रिसले आसामीहरूले उनको हत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ । घटनामा संलग्न रहेको आशंकामा सोधपुछका लागि वीरगन्जबाटै दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

समाचार

'सरकार लोकतन्त्र कमजोर पार्ने षड्यन्त्रमा'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संविधानको मर्मविपरीत अनुदार विधेयक ल्याएर जनताको अधिकार कुण्ठित गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । नेकपा नेतृत्वको सरकार लोकतान्त्रिक उपलब्धिलाई कामजोर पार्ने खेलमा लागेको भन्दै उनले त्यसको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताए । ‘सरकारले अनुदार विधेयक ल्याएर लोकतान्त्रिक अधिकार र मूल्यमान्यतामाथि एकपछि अर्को आक्रमण गरिरहेको छ,’ कांग्रेसको काठमाडौं क्षेत्र नं. ६ कार्यसमितिद्वारा राजधानीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘सरकारको षड्यन्त्र परास्त गरी लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट र सुदृढ हुनैपर्छ ।’ पार्टीभित्र अन्तर्घात बढेका कारण चुनावमा कांग्रेसले पराजय भोग्नुपरेको उल्लेख गर्दै देउवाले आफू पार्टीलाई एकजुट बनाएर अघि बढ्न गम्भीर रहेको बताए । 

समाचार

'सरकारको कामले गति लिएन'

- कान्तिपुर संवाददाता

मोरङ (कास)– नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कामले गति लिन नसकेको बताएका छन् । ‘सरकारको कामले गति लिनुपर्ने हो तर लिन सकेको छैन,’ नेपालले शनिबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा भने, ‘विगतमा भएका कमी–कमजोरी र त्रुटि सच्याएर अघि बढ्नुपर्छ ।’ जनताका समस्या र गुनासालाई सम्बोधन गर्नु सरकारको प्रमुख दायित्व भएको उनको भनाइ थियो । ‘जनताको भावनाअनुसार कामलाई गति दिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि नियम–कानुन परिवर्तन गरेर वा राम्रो गर्नेलाई प्रोत्साहित गरेर, जे गरेर भए पनि कामलाई गति दिनुपर्छ ।’ द्वन्द्वकालका मुद्दालाई छिट्टै टुंग्याउनुपर्ने उनले बताए ।

Page 3
समाचार

प्रधानमन्त्रीले भेटे मदुरोलाई

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– असंलग्न अभियान (नाम) का राष्ट्र तथा सरकार प्रमुखहरूको १८औं शिखर सम्मेलनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राति भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग साइडलाइन वार्ता गरेका छन् । मदुरो नामका निवर्तमान अध्यक्ष हुन् ।
भौगोलिक दूरी टाढा भए पनि कम्युनिस्ट विचारधाराका कारण नेपाल र भेनेजुएला सरकारबीच सुमधुर सम्बन्ध छ । अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्रतिबन्ध लगाउँदा नेकपा अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी कदमको विरोध जनाएका थिए । त्यसबाट चिढिएको अमेरिकाले नेपाललाई भेनेजुएलामाथि आफ्नो धारणा स्पष्ट पार्न दबाब दिएको थियो ।
सोही घटनाका कारण ओली र मदुरोबीचको भेटलाई महत्त्वका साथ हेरिएको छ । भेटमा दुई नेताले द्विपक्षीय सम्बन्धबारे छलफल गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । मदुरोको आग्रहमा भेटवार्ता भएको उनको भनाइ छ । ओलीले साइडलाइन वार्ताकै क्रममा उत्तर कोरियाका राज्यव्यवस्था आयुक्त चोई योङ हईसँग भेट गरेका थिए । चोई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका निकट मानिन्छन् । भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको भट्टराईले जानकारी दिए । ओलीले साइडलाइन वार्ताअन्तर्गत नै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद र पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीसँग वार्ता गरेका थिए । दुईदिने सम्मेलन शनिबार सकिएको छ ।
नेपाल नामको १८औं शिखर सम्मेलनमा एसिया–प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा चयन भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार एक सत्रको सञ्चालन गर्नुका साथै नेपालका तर्फबाट आफ्नो विचारसमेत राखेका थिए ।

समाचार

‘पौडेल हत्यामा संलग्न’ प्रहरी काममै

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेलको ‘हत्यामा संलग्न रहेको’ आरोपमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा निलम्बन गर्न सिफारिस गरिएका तीन जना प्रहरी अझै घुमुवाकै रूपमा खटिइरहेका छन् ।
आयोगले प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्णदेव (केडी) प्रसाद साह, हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरेर फौजदारी अपराधअनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । आयोगले निर्देशन दिएको एक साता बित्न लाग्दा पनि आरोपितलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छैन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नै कमान्डमा रहेको विशेष ब्युरोमा दरबन्दी तथा काज कायम गरेर प्रदेश २ अन्तर्गतका ८ वटा जिल्लामा १४ जना सादा पोसाकका घुमुवा खटाएका छन् । आईजीपीको निर्देशनबिना उनीहरूलाई फिर्ता बोलाउन नसकिने प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।
‘प्रहरी प्रधान कार्यालय नक्सालको प्रत्यक्ष निर्देशन र प्रदेश २ प्रहरी कार्यालयको समन्वयमा परिचालित प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि अनावश्यक बल प्रयोग गरी ९ गोली हानेर मारिएको पाइयो,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘प्रहरीले आत्मरक्षा र दोहोरो भिडन्त भनी दाबी गरेकामा दोहोरो भिडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको र घटनाको प्रकृति, संकलित प्रमाणसमेतबाट निजलाई नियन्त्रणमा लिई मारिएको आयोगको अनुसन्धानबाट देखियो ।’
आईजीपी खनाल आयोगको प्रतिवेदन सार्वजनिक हुँदा इन्टरपोलको सम्मेलनमा सहभागी हुन दक्षिण अमेरिकी मुलुक चिलीमा थिए । उनी शुक्रबार स्वदेश फर्केका छन् । उनको सचिवालयका एसएसपीसमेत रहेका सहप्रवक्ता उमेशराज जोशी आफू बिदामा रहेको र कार्यालयमा हाजिर भइनसकेको भन्दै आयोगको सिफारिस कार्यान्वयनका विषयमा बोल्न चाहेनन् । ‘म बिदामा थिएँ, कार्यालयमा हाजिर भएको छैन,’ उनले भने, ‘कार्यालयमा उपस्थित भएपछि मात्रै यस विषयमा बोल्न सकिएला ।’
प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट कात्तिक ५ गते आयोगले पौडेलको नक्कली इन्काउन्टर गर्न आदेश दिने र आदेश पालना गर्नेमाथि तत्काल अनुसन्धान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्रमार्फत निर्देशन दिएको थियो । आयोगको सिफारिसअनुसार तीनै जनामाथि लागेको नक्कली इन्काउन्टरको आरोप पुष्टि भए फौजदारी अपराधअन्तर्गत जन्मकैदको सजाय हुन सक्ने कानुनी व्यवस्था छ । प्रहरी प्रधान कार्यालय स्रोतले आयोगको सिफारिसअनुसार आरोपित प्रहरीलाई फिर्ता बोलाउनेसम्बन्धी कुनै निर्णय नभएको जानकारी दियो ।
आईजीपीकै निर्देशनबमोजिम केन्द्रबाट घुमुवा खटिएको र त्यही टोलीले ‘नक्कली इन्काउन्टर’ गरेको भन्दै खनाल विवादमा तानिएका छन् । यद्यपि प्रहरी निरीक्षकसम्मलाई निलम्बन गरेर कारबाही अघि बढाउने अधिकार उनलाई छ ।
सरकारले ०७५ फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगाउँदै उसका गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो । प्रतिबन्ध लागेको ४ महिनापछि ०७६ असार ५ गते प्रहरीको घुमुवा टोलीले वाग्मती गाउँपालिका–२ का पौडेललाई लालबन्दी नगरपालिका–१ लखन्देही जंगलनजिकै कच्ची सडकको बाँसघारीमा ९ गोली हानेर हत्या गरेको थियो । घटनालाई प्रहरीले मुठभेड भने पनि आयोगले हत्या भएको निष्कर्ष निकालेको छ ।

समाचार

प्रतिवेदन लुकाएर विदेशीलाई टेन्डर

अन्तःशुल्क स्टिकर छपाइ
- ऋषिराम पौड्याल

(काठमाडौं) - नेपाली कम्पनीसमेत सहभागी हुने गरी मापदण्ड बनाउन दिएको सुझावसहितको सरकारी प्रतिवेदन गुपचुप राखेर आन्तरिक राजस्व विभागले विदेशी कम्पनीले मात्र अन्तःशुल्क स्टिकर छाप्न पाउने सर्त राखेर टेन्डर आह्वान गरेको पाइएको छ । सुरक्षात्मक मुद्रण उद्योग दर्ता र छपाइका लागि नेपालका निजी कम्पनीले पनि भाग लिन पाउने गरी मापदण्ड तयार गर्न २०७२ मंसिर ६ मा उद्योग विभागका महानिर्देशकको संयोजकत्वमा गठित कार्यदलको सुझावलाई गुपचुप राखेर करिब १ अर्ब ३४ करोडको टेन्डरको काम विदेशीलाई दिन लागिएको हो ।
कार्यदलले मुद्रणमा नेपालका निजी कम्पनीले समेत भाग लिन पाउने गरी मापदण्ड बनाउन सुझाएको थियो । उद्योग विभागका तत्कालीन महानिर्देशक तथा कार्यदल संयोजक महेश्वर न्यौपानेको अध्यक्षतामा २०७२ मंसिर २९ मा बसेको बैठकले स्टिकर मात्र नभई यस्ता प्रकृतिका सबै खालका छपाइका लागि सुरक्षित र गुणस्तरीयमा ध्यान दिन सुझाएको थियो ।
सुरक्षित मापदण्डका विषयमा छलफलै नगरी विदेशी कम्पनीले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी गत असोज १३ गते आन्तरिक राजस्व विभागले टेन्डर आह्वान गरेर कार्यदल सुझावको बेवास्ता गरेको पाइएको हो । नेपाली व्यवसायीले अन्तःशुल्क स्टिकर, मोबाइलको रिचार्ज कार्ड, बैंक चेक, हुलाक टिकट, राहदानीलगायतको छपाइ गर्न सक्ने दाबी गर्दै आएका छन् । कार्यदलमा नेपाल राष्ट्र बैंक, सूचना तथा सञ्चार, कानुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, आन्तरिक राजस्व विभाग र सूचना प्रविधि विभागका प्रतिनिधि सदस्य थिए ।
प्रतिवेदनका आधारमा लगानी प्रवर्द्धन बोर्डले मापदण्ड बनाएको छ । मन्त्रालयले कार्यान्वयन गर्ने निकाय उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पठाएको प्रतिवेदनकै आधारमा बोर्डले उक्त सुझाव अघि सारेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष ०७१/७२ को बजेट वक्तव्यको बुँदा नम्बर १५५ मा सुरक्षित मुद्रणका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न निश्चित मापदण्ड पूरा गरेर सुरक्षित मुद्रण उद्योगको अनुमति दिने उल्लेख छ ।
अर्थमन्त्रीको सोही बजेट वक्तव्यलाई कार्यान्वयन गर्नुपर्ने नीतिगत निर्णयलाई समेत ध्यान दिएर कार्यदल गठन गरिएको थियो । तर बजेट वक्तव्यमा उल्लेख गरेका ५ आर्थिक वर्ष बिते पनि त्यसलाई कार्यान्वयन नगरी पुरानै प्रक्रियामा टेन्डर आह्वान गरिएको छ । कार्यदलको सुझावका आधारमा औद्योगिक प्रवर्द्धन बोर्डले दिएको रायमा भनिएको छ, ‘सुरक्षित मुद्रण उद्योग दर्ताका लागि तय गर्नुपर्ने मापदण्ड स्वीकृत गरी लागू गर्न एवं सोही मापदण्डबमोजिम मुद्रण उद्योग सञ्चालन गर्न मुद्रण विभागलाई सक्षम बनाउन सूचना तथा सञ्चार मन्त्रालयलाई अनुरोध गर्न वा स्वीकृत मापदण्डबमोजिम सुरक्षित मुद्रण उद्योग स्थापना गर्न निजी क्षेत्रलाई समेत अनुमति खुला गर्न मनासिब हुने ।’
कार्यदलको सुझावअनुसार स्टिकर वा यस्तै प्रकृतिका छपाइका लागि सूचना प्रविधि मन्त्रालयले मुद्रण विभागलाई सक्षम बनाउनुपर्ने वा निजी क्षेत्रलाई सहभागी गराउने गरी उनीहरूको प्रवेशलाई अनुमति दिनुपर्ने देखिन्छ । कार्यदलले दिएको सुझाव कार्यान्वयन नगरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाली व्यवसायीले पनि भाग लिन पाउने गरी मापदण्ड बनाएर मात्र टेन्डर प्रक्रिया अघि बढाउन एक वर्षअघि नै दिएको कुनै पनि निर्देशन पालना नगरी आन्तरिक राजस्व विभाग एकलौटी रूपमा अघि बढेको देखिन्छ ।
नेपाली व्यवसायीले आफूहरूले सुरक्षित एवं गुणस्तरीय छपाइ गर्न सक्ने दाबी गर्दै आएका छन् । निर्देशन लागू गर्न अटेर गरेपछि हाल गरिएको टेन्डर प्रक्रिया अघि नबढाउन एक साताअघि अर्को निर्देशन दिइएको लेखा समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।
टेन्डर सूचनामा भने आवेदक कम्पनीले स्टिकर छापेर अरू देशमा आपूर्ति गरेको र १० वर्षमा ५ अर्ब वटा स्टिकर छापेको हुनुपर्ने सर्त राखिएको छ । साथै स्टिकर, पासपोर्ट वा बैंक नोट छापेको १० वर्षको अनुभव हुनुपर्नेलगायत सर्त छन् । अनावश्यक र नेपाली कम्पनीले टेन्डर प्रक्रियामा भाग लिन नपाउने गरी सर्त राखिएको व्यवसायीको आरोप छ । आफूले लेखा समितिको पत्र हेरेर पछि मात्र जवाफ दिने आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले बताए । सुझाव कार्यान्वयन किन गरिएन भनेर पटकपटक गरेको प्रश्नको जवाफ उनले दिन चाहेनन् ।
कार्यदलमा सदस्य सचिव रहेका राजन खनाल हाल अर्थ सचिव छन् । उनले अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुखको हैसियतमा समितिको सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए । अहिले उनकै मातहतको आन्तरिक राजस्व विभागको कार्यदलले दिएको सुझावविपरीत विदेशीले मात्र प्रतिस्पर्धा गर्न पाउनेगरी टेन्डर आह्वान गरेको हो । सचिव खनाललाई पटकपटक फोन र म्यासेज गर्दा पनि सम्पर्क हुन सकेन ।

Page 4
वाग्मती प्रदेश

लाङटाङ र गोसाइँकुण्ड जोड्दै हेलम्बु पदमार्ग

- अनिश तिवारी
सिन्धुपाल्चोकको सिमिसिदाङ हिमाल हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने निर्माणाधीन पदमार्ग । तस्बिर ः अनिश/कान्तिपुर

(सिन्धुपाल्चोक) - जिल्लाको चर्चित पर्यटकीय क्षेत्र हेलम्बुबाट रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने दुई पर्यटकीय पदमार्ग निर्माणले तीव्रता पाएको छ ।
पर्यटन विभागको दुई करोड लागत र हेलम्बु गाउँपालिकाको समन्वयमा हेलम्बुको शिर सिमिसिदाङ हिमाल हुँदै लाङटाङ जोड्ने ३० किलोमिटरमा हालै १५ किमिको काम भइसकेको छ । पुरानो पदमार्ग मानिने हेलम्बु, गन्जलापास, रसुवाको लाङटाङ ४० किमिमा मर्मतसम्भारको काम बाँकी रहेको हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘प्रमुख पर्यटकीयस्थल लाङटाङ र चर्चित धार्मिकस्थल गोसाइँकुण्ड जोड्ने दुई प्रमुख पदमार्गबाहेक हृयोल्मो धार्मिकस्थल जोड्ने दर्जनौं पदमार्ग बन्दैछन्,’ प्रमुख शेर्पाले भने । शाक्यमुनि बुद्धपछिका दोस्रो बुद्ध मानिएका गुरु रिन्पोछे या पद्मसम्भव, तिब्बती महायोगी मिलारेपा तपस्यास्थल, पुराना गुम्बादेखि आमायांग्री (धनकी देवी) सम्मको ‘ट्रेकिङ रुट’ अझै कायम रहेको उनको भनाइ छ ।
पुरानो हृयोल्मो सभ्यता र धार्मिक महत्व बोकेको हेलम्बुको दुई दर्जन पदमार्गमा भूकम्पले क्षति पुर्‍याएको थियो । गाउँलाई सुगम बनाउने सडक लगिरहँदा पर्यटकीय पदमार्गलाई केही खलबल्यायो । भूकम्पको चार वर्षपछि गाउँपालिकाले पुरानो पदमार्गको मर्मतसम्भार र महत्वपूर्ण दुई पदमार्गको निर्माणलाई तीव्रता दिएको हो । हेलम्बु र पाँचपोखरीको सीमाक्षेत्र हृयोल्मो देवी आमायांग्री, पाल्चोक माईदेखि झिचेन मिलारेपासम्म पदमार्ग बनाउने योजनामा रहेको प्रमुख शेर्पाले जानकारी दिए ।
उनका अनुसार सुन्दरीज, कुटुम्साङ–घोप्टेघ्याङ–मेलम्चीघ्याङ, तिम्बु–मेलम्चीघ्याङ, पाल्चोक–ककनी, निगाले–ककनी, शेर्माथान–पाल्चोक भगवतीजस्ता दर्जन पदमार्गको हालै स्तरोन्नतिको काम भइरहेको छ । चीनको ग्रेटवाल हेरेर हृयोल्मो धार्मिक कथनसँग जोडिएको धर्मचक्र पर्खाल ‘हिमालयन ग्रेट ट्रेल’ लाई पदमार्गसँगै एक करोड बजेटबाट जोडिँदै छ ।
लाङटाङबाट हेलम्बु भित्रिने पर्यटकले हृयोल्मो परम्परा, धार्मिकस्थल डुब्कुबाट मेलम्ची खानेपानीको मुहान भेम भेमथाङ हेर्ने ‘प्याकेज ट्रेकिङ स्पट’को कार्ययोजना हेलम्बु गाउँपालिकाले बनाएको छ । हेलम्बु वडा १ का अध्यक्ष मिङमार लामाले हृयोल्मो ग्रन्थअनुरूप पवित्र मानिने ‘छुहृयालागेन्जेन’ एक सय आठवटा पानीको मुल फुटिरहेको या बालुवा भएको चौर ताल, अम्बाथान झरना र हेलम्बु खोलाको मुहान हेर्न पाइने बताए ।
गुम्बैगुम्बाको शेर्माथान, हृयोल्मो बस्ती मेलम्चीघ्याङ, तार्केघ्याङ, घ्याङुल, झिचेन मिलारेपा र पद्मसम्भवले तपस्या गरेको गुफा ढुक्पु, गुरु रिन्पोछे छाप वा पाइला, तेम्बाथाङ, आमायांग्री, चिरीगुम्बा, पाल्चोक भगवती, कुटुम्साङजस्ता आकर्षकस्थल हेलम्बुमा हेर्न सकिन्छ ।
हेलम्बुको तेम्बाथाङमा ठडिएको हृयोल्मो एकीकृत बस्तीसँगै पुनर्निर्माणमा ध्यान दिन हेलम्बुका जनप्रतिनिधिले होमस्टे पुनर्निर्माण अनुगमन गरेका थिए । अत्यधिक खर्चिलो हुने भएकाले अधिकाशंले मर्च्यागुम्बे शैलीमा ‘नाम्घोघोसुम’ झ्यालमात्रै बनाएर संस्कृतिलाई धान्दै आएको हेलम्बु गाउँपालिकाकी उपप्रमुख कोपिला पण्डितले बताइन् । ‘संस्कृतिको महत्वलाई बुझेर हृयोल्मो संस्कृतिको घर बनाउने पनि थुप्रै छन्, पहिलेझै संस्कृतिका घरमा होमस्टे योजना ल्याएका छौं,’ उनले भनिन् ।

वाग्मती प्रदेश

सरकारी फार्मेसीमा सामान्य औषधिसमेत पाइँदैन

- फातिमा बानु

(काठमाडौं) - ढाड दुख्ने, खुट्टा गल्ने समस्याका कारण ट्रमा सेन्टरमा उपचाररत सम्झना सुनार औषधि किन्न अस्पतालको फार्मेसी पुगिन् । शरीरमा भिटामिन र क्याल्सियमको कमीले यस्ता समस्या भएको भन्दै चिकित्सकले एक महिनाका लागि क्याल्सियम लेखिदिए । फार्मेसीमा लामो लाइन बसे पनि उनले उक्त औषधि पाइनन् । बाध्य भएर अस्पतालबाहिरको फार्मेसीबाट किन्नुपर्‍यो । ‘फलोअपमा आइरहनुपर्छ । डाक्टरले लेखिदिएको औषधि अस्पतालकै फार्मेसीमा पाइँदैन,’ उनले गुनासो गरिन् ।
आँखा दुख्ने समस्या भएर त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा उपचारत मैयाँ महर्जनलाई चिकित्सकले ‘अलरचेक’ नामक औषधि लेखिदिए । उनले पनि अस्पताल फार्मेसीमा यो औषधि
पाइनन् । उनी भन्छिन्, ‘बाहिर पनि नपाएपछि फर्केर अस्पताल नै गएँ, र डाक्टरलाई अर्कै औषधि लेखिदिन भनेँ ।’
२० दिनदेखि आमाको कलेजो उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल आएका पुरुषोत्तम थपलियालाई बुधबार राति चिकित्सकले सुगर नाप्ने औषधि (रिएजेन्ट) लेखिदिए । अस्पताल फार्मेसीमा नपाएपछि उनी आधा रातमा निकैबेर बाहिरका फार्मेसी चहार्न थाले । ‘औषधि नै नपाइने फार्मेसी पनि रातिसम्म किन खोल्दा हुन्,’ गुनासोमिश्रित आक्रोशमा उनी भन्दै थिए, ‘सस्तो औषधि पाइन्छ, महँगो त बाहिरै किन्नुपर्दो रहेछ ।’
सरकारी फार्मेसीमा औषधि नपाउने यी केही पात्रमात्रै हुन् । फार्मेसीमा सामान्य औषधि अभाव त छ नै क्यान्सर, मुटुजस्ता कडा रोगमा चल्ने औषधिसमेत नपाउँदा बिरामी भौंतारिइरहेका भेटिन्छन् । शिक्षण अस्पतालको फार्मेसीमा तीन महिनादेखि अभाव भएको अत्यावश्यक औषधि अझै पाइँदैन । विशेषगरी शल्यक्रियाका लागि प्रयोग हुने औषधि र उपकरण नपाइने बिरामीहरू बताउँछन् । अस्पताल फार्मेसीमा अहिले ‘मिडाजोलम इन्जेक्सन’ डिनफोस्फोड, ट्रामाडोलजस्ता दुखाइ कम गर्ने औषधि छैनन् । प्रसूति गृहको फार्मेसीमा औषधि किन्नेको भीड भएकै कारण बिरामीहरू निजी फार्मेसी जाने गरेका छन् । आकस्मिक उपचारका लागि तुरुन्तै औषधि आवश्यक पर्ने हुँदा बिरामीका आफन्त लाइन बस्दैनन्, बरु बाहिरका फार्मेसीबाट महँगो शुल्क तिरेर औषधि किन्छन् ।
फार्मेसी सेवा निर्देशिका–२०७२ अनुसार सरकारी अस्पतालमा आफ्नै फार्मेसी सञ्चालनमा छन् । राजधानीका वीर, प्रसूति गृह, सरुवारोग अस्पताल, शिक्षणलगायत सबै सरकारी अस्पतालका आफ्नै फार्मेसी भए पनि बिरामीले सबै औषधि पाउँदैनन् । निजी फार्मेसीबाट बिरामी ठगिने गुनासो बढेपछि समाधानका लागि अस्पतालमा आफ्नै फार्मेसी खोलिएका हुन् । यसका लागि सरकारले अस्पताललाई ३० लाखसम्मको बजेट उपलब्ध गराएको थियो । तर, अस्पतालले आफ्नै फार्मेसीमा औषधि व्यवस्थापन गर्न नसक्दा बिरामी भने निजी फार्मेसीबाटै औषधि किन्न बाध्य छन् ।
फार्मेसीमा औषधि अभाव भए पाँच लाखसम्मको औषधि बिनाटेन्डर खरिद गरेर अभाव हटाउनुपर्ने नियम छ । बिनाटेन्डर औषधि खरिद गर्दा महँगोमा औषधि बेच्नुपर्ने अस्पताल प्रशासनको तर्क छ ।
औषधि खरिदको नयाँ टेन्डर प्रक्रिया चलिरहेकाले अभाव देखिएको शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्काले बताए । ‘टेन्डर प्रक्रिया झन्झटिलो छ । एउटै औषधिका लागि ४० कम्पनीले टेन्डर हाल्छन्, सबैको मूल्याकंन गर्नुपर्ने भएको प्रक्रिया लामो हुन पुग्छ,’ उनले भने, ‘चिकित्सकले टेन्डरबाहिरको औषधि सिफारिस गर्दा फार्मेसीमा नपाइने पनि हुन सक्छ ।’
शल्यक्रियाका औषधिका लागि बिरामीले बाहिर भौंतरिनुपर्ने समस्या समाधानका लागि वार्डमै औषधि पुर्‍याउने व्यवस्था गर्ने योजना शिक्षण अस्पतालमा लागू छैन । सरकारी फार्मेसीमा सबै औषधि उपलब्ध हुने हो भने बिरामीले बाहिरभन्दा ५० प्रतिशतभन्दा सस्तोमा औषधि पाउँछन् ।

वाग्मती प्रदेश

तीन स्मार्ट सिटीको डीपीआर तयार

- दीपेन्द्र विष्ट

(काठमाडौं) - काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा निर्माण गरिने चारमध्ये तीनवटा ‘स्मार्ट सिटी’ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ । डीपीआर अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।
शंखरापुर, गुण्डु र भैंसेपाटी क्षेत्रमा निर्माण हुने सिटीको डीपीआर परामर्शदाता कम्पनीले बुझाइसकेको छ । मनोहरा–मुलपानी–साँखु क्षेत्रमा निर्माण हुने स्मार्ट सिटी अन्य तीनवटाभन्दा ठूलो भएको भन्दै तिवारीले सरकारले स्वीकृत गर्नेबित्तिकै काम अघि बढाउने बताए ।
‘गुण्डुको डीपीआर आइसकेको छ, सबै कानुनी प्रक्रिया पुर्‍याएर सहरी विकास मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा लग्छौं,’ उनले भने, ‘टोखा सिटीको डीपीआर अलि ढिलो हुन्छ, ठेक्का प्रक्रिया गर्दा नै ढिलो भयो ।’ साँखु–मनोहरा स्मार्ट सिटीको हेलन नामक विदेशी परामर्शदाता, गुण्डु र भैंसेपाटीको स्वदेशी परामर्शदाता कम्पनी सीआरएमसीले डीपीआर तयार पारेको उनले बताए । सबै नापजाँच गरेर जमिनको प्रारम्भिक काम पनि अघि बढाइने प्राधिकरणको तयारी छ ।
करिब साढे तीन वर्षअघि सहरी विकास मन्त्रालयले भक्तपुरको गुण्डु उपत्यका, काठमाडौंको टोखा, ललितपुरको खोकना, काठमाडौं–भक्तपुरको चाँगुनारायणदेखि साँखु क्षेत्रमा सुविधासम्पन्न स्मार्ट सिटी बनाउने निर्णय गरेको थियो । तिवारीले तिहारलगतै मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रतिवेदन स्वीकृतिका लागि लैजाने बताए ।
प्राधिकरणका अनुसार चारवटा सिटी बनाउँदा १ लाख ३० हजार रोपनी जग्गा समेटिनेछ । अनुसार चारवटै सहरमा १० लाखभन्दा बढी जनसंख्याका अट्ने योजना छ । साँखु मनोहरामा १ लाख तथा टोखा, गुण्डु र खोकनामा १० र १० हजार रोपनीमा कित्ताकाटदेखि सम्पूर्ण किनबेचमा समेत प्राधिकरणले रोक लगाएको छ । यसरी १ लाख ६० हजारवटा घडेरी बिक्री गर्ने प्राधिकरणको योजना छ । तिवारीले तिहारलगतै मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रतिवेदन स्वीकृतिका लागि लैजाने बताए । सिमांकनबारे सरकारले सामान्य खाका सार्वजनिक गरे पनि विस्तृत रूपमा नआएको भन्दै स्थानीयले सरकारको आलोचना गर्न थालेका छन् । मूलपानीका सरोज खनालले तीन वर्षदेखि जग्गा रोक्दा अंशबण्डालगायत काममा निकै कठिनाइ भएको बताए । ‘काम छिटो भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘अंशियारबीच अंशबण्डा भएको छैन । आठ आनाभन्दा कम कित्ताकाट नहुँदा झनै समस्या भएको छ ।’
सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भने स्मार्ट सिटीको डीपीआर आउनेबित्तिकै सबै काम अघि बढाइने बताए । ‘डीपीआर तयार भइसकेको छ, अलि बस्ती भएको स्थानमा समस्या छ, त्यो पनि समाधान हुन्छ, जनतालाई दुःख दिने काम हुँदैन,’ उनले भने, ‘कहीँकतै समस्या भए व्यावहारिक रूपमा समाधान गरिन्छ ।’
कहाँ बन्नेछ स्मार्ट सिटी ?
उपत्यका विकास प्राधिकरणका अनुसार पहिलो स्मार्ट सिटी १ लाख रोपनी जग्गा मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूलसडक तथा शालीनदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म हुनेछ । खरिपाटीस्थित नेपाली सेनाको ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापखो आयोजना, बोडे, मनोहरा हुँदै पुनः मूलपानी क्रिकेट मैदानलाई समेटिनेछ । दोस्रो स्मार्ट सिटी सूर्यविनायक जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार भएर पुनः सूर्यविनायकसम्म जोडिनेछ । तेस्रो स्मार्ट सिटीमा खोकना, बुङ्मती, सैंबु, वाग्मती झोलुंगे पुल, चोभारसम्मको क्षेत्रलाई समेटिएको छ । चौथो स्मार्ट सिटीका लागि तारकेश्वर जाने मूल बाटो सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्मको क्षेत्र समेटिएको छ । प्रत्येक स्मार्ट सिटीमा बैंक तथा वित्तीय संस्था, खुला चौर, खेलमैदान, ढलपानीको व्यवस्था, ठूला बसको व्यवस्था गरिने प्राधिकरणले जनाएको छ ।
‘अत्याधुनिक सहर निर्माण गर्ने हाम्रो अभियान हो, जुन नमुना होस् र उपत्यकाबाहिरका सहरले पनि त्यसको नक्कल गरून् भन्ने हो,’ प्राधिकरणका प्रमुख आयुक्त तिवारीले भने । स्मार्ट सिटीमा सूचना प्रविधि, भौतिक पूर्वाधार, वित्तीय संघसंस्था, यातायात, खेलमैदान, खुला चौर, स्वास्थ संघसंस्था लगायतको एकीकृत सुविधा रहनेछ ।

वाग्मती प्रदेश

भरतपुर ‘सहयोगापेक्षी सडकमानव मुक्त’

- कान्तिपुर संवाददाता

 

चितवन (कास)– भरतपुर महानगरपालिका शनिबारदेखि ‘सहयोगापेक्षी सडकमानव मुक्त’ घोषणा भएको छ । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल सहभागी कार्यक्रमबाट यस्तो घोषणा गरिएको हो । महानगरले असोज २७ देखि त्यस्ता व्यक्ति खोज्ने र उद्धार गर्ने अभियान चलाएको थियो । यो घोषणपछि भरतपुर महानगरपालिकाका सडकपेटीमा अब बेसहारा व्यक्तिहरू नभेटिने महानगरका पदाधिकारीहरूले बताएका छन् । असहाय व्यक्तिहरू सडकमा भेटिए त्यस्तालाई तत्काल मानव सेवा आश्रममा नै राखिनेछ ।
मानव सेवा आश्रम नामक संस्थाले त्यस्ता बेसहारा व्यक्तिलाई उद्धार गर्ने र सम्भव भएसम्म परिवार खोजेर जिम्मा लगाउने काम गर्दै आएको छ । सोही संस्थाको सहकार्यमा महानगरले यो घोषणा गरेको हो । मेयर रेनु दाहालले महानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै यो विषय समावेश भएको बताइन् ।
आश्रमले २०७१ सालदेखि भरतपुरमा काम गर्दै आएको छ । त्यसयता पाँच सयजना व्यक्तिको उद्धार भएको आश्रमसँग सम्बद्ध रामजी अधिकारीले बताए । उद्धार भएकामध्ये तीन सयजनालाई परिवार खोजेर जिम्मा लगाइएको छ । सय जनाको निधन भएको छ । सयजनाले हालसम्म आश्रममा आश्रय लिएका छन् । आश्रमले लिएको अनुभवलाई आधार मानेर महानगरले घोषणामा तत्परता देखाएको थियो ।
‘आफ्ना लागि केही गर्न नसक्ने, पालनपोषण र हेरचाह गर्ने परिवार पनि नभएको, बाध्य भएर सडकमा कष्टकर जीवन व्यतीत गरिरहेकालाई उद्धार गरेर महानगरलाई सहयोगापेक्षी सडकमानवमुक्त घोषणा गरेका हौं,’ मेयर दाहालले भनिन् ।
महानगरले असोज २७ गतेयता रातको आठदेखि ११ बजेसम्म यस्ता व्यक्ति खोज्ने अभियान चलाएको थियो, जसमा २५० जना भेटिएका थिए ।
‘सडकमा अलपत्र सुते/बसेका त्यस्ता व्यक्तिमध्ये आठजना बेसहारा रहेछन् । २० जना व्यक्ति अलपत्र परेर सुत्न आएका रहेछन्,’ मेयर दाहालले भनिन्, ‘अरू सबै जाँडरक्सी खाएर बेहोसीमा सडकमा सुत्ने गरेको भेटियो । काम गरेको ठाउँमा ज्याला कम भएर कोठाभाडा तिर्न नसक्ने भएपछि सडकमा सुत्ने गरेको पनि पायौं । समस्या निराकरण गर्न रोजगारदातालाई भेटेर कुरा राखेका छौं ।’ महानगरले अस्थायी सेल्टर बनाउने योजना पनि राखेको उनको भनाइ छ । मानव सेवा आश्रमले भाडामा सञ्चालन गरेको घरमा धेरैजना अटाउन सक्दैनन् । मिलेसम्म अरु आश्रमलाई पनि अनुरोध गर्ने दाहालले बताइन् ।
मानव सेवा आश्रमले नयाँ भवन पनि बनाउँदै छ । जहाँ २५० जनालाई राख्न सकिनेछ । ‘मुख्य कुरा यस्ता व्यक्ति परिवार छाडेर सडकसम्म नआऊन् भन्ने हो । हामी त्यहीअनुरूप योजना पनि बनाउँदै छौं,’ मेयर दाहालले भनिन्, ‘उद्धार गर्नुपर्ने व्यक्तिहरूको खोजीमा महानगर र प्रहरी नियमित लाग्नेछ ।’ यसका लागि महानगर र वडास्तरका समितिहरू बनेका छन् ।

वाग्मती प्रदेश

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

- कान्तिपुर संवाददाता

धादिङ (कास)– त्रिभुवन राजपथअन्तर्गत धुनीबेंसी नगरपालिका–९ टायलघरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
काठमाडौबाट चितवन जाँदै गरेको ना ७ ख ९३०६ नम्बरको ट्रक र काठमाडौंबाट गोर्खा जाँदै गरेको ना ६५ प २०१३ नम्बरको मोटरसाइकल ट्रकसँग ठक्कर खाँदा गोर्खा जिल्ला साविक दुवाकोट ५ बस्ने वर्ष ५५ का हरिप्रसाद मल्लको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । त्यस्तै, धुनीबेंँसी नगरपालिका ७ खानीखोलामा बाटोमा लडेर बारा निजगढ नगरपालिका १३ निवासी ५७ वर्षीय सोम चेपाङको मृत्यु भएको छ । खानीखोलामा ज्यामी काम गर्दै आएका चेपाङको मदिरा सेवनपछि लड्दा मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

Page 5
उपत्यका

पर्यटकीय गाउँ बनाउन जुटे जनप्रतिनिधि

ललितपुरको वाग्मती, महांकाल र कोन्ज्योसोम गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउन चार वर्षअघि बनाइएको योजना कार्यान्वयन गर्न जनप्रतिनिधि र स्थानीय बासिन्दा लागिपरेका छन्
- प्रशान्त माली
वाग्मती गाउँपालिकाको माउखण्डमा निर्माणधीन होमस्टे–घर । स्थानीय तहले पर्यटकीय योजना लागू गरेपछि विदेशबाट फर्किएका युवा होमस्टे बनाउन कस्सिएका छन् । तस्बिर ः प्रशान्त/कान्तिपुर

(ललितपुर) - दक्षिणी ललितपुरका वाग्मती, महांकाल, कोन्ज्योसोम गाउँपालिकाले आफ्नो ठाउँलाई पर्यटकीय स्थल बनाउन थरीथरीका योजना अघि सारेका छन् । सडक निर्माणसँगै गाउँका पर्यटकीय स्थल चिनाउने योजनामा गाउँपालिकाका पदाधिकारी लागिपरेका हुन् । वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जंगल सफारी र शिविर सञ्चालनमा ल्याउन पूर्वाधार तयार भइरहेको बताए । ‘पर्यटन प्रवर्द्धन गर्न प्रदेश र केन्द्र सरकारले पनि भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘दक्षिणमा जंगल सफारीको विकास गर्न सकेमा सौराहा पुग्नुपर्दैन ।’
महांकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले धार्मिकसँगै कृषि र खेल पर्यटनको प्रचूर सम्भावना रहेकाले यसलाई पूरा गर्न योजना बनाएको बताए । स्थानीय तहसँगै पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, वातावरण मन्त्रालय, ललितपुर उद्योग वाणिज्य संघलगायत संघसंस्थाले पनि लगानी गर्नुपर्ने भएकोले सहकार्य भइरहेको उनको भनाइ छ । ‘जडिबुटी खेती गर्न पनि अध्ययन थालिसकेका छौं,’ उनले भने ।
कोन्ज्योसोम गाउँपालिकाले पर्यटन विकासकै लागि यस वर्ष एक करोड रुपैयाँ वजेट विनियोजिन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले कोन्ज्योसोम शान्ति वाटिका, दलचोकीमा भ्युटावर बनाउन लागिरहेको बताइन् ।
‘कोन्ज्योसोमको अर्थ ब्रहृमा, विष्णु र महेश्वरको त्रिमूर्ति हो,’ उनले भनिन्, ‘गुप्तेश्वर महादेव गुफा फेदबाट करिब तीन किमि उचाइमा छ । त्योभन्दा उचाइमा कोन्ज्योसोम शान्ति वाटिकामा तीनै देवताका मूर्ति बनाउन डीपीआर तयार गरेर शिलान्यास भइसकेको छ ।’ उनका अनुसार मूर्ति बनाउन १० करोड रुपैयाँ लाग्छ । यस्तै दलचोकीमा भ्युटावर बनाउन यस वर्ष ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
टावर निर्माण भएपछि ललितपुरको सबैभन्दा उपयुक्त दृश्यावलोकन स्थल बन्ने उनले बताइन् । यहाँबाट उपत्यकाका तीनै जिल्ला, तराई र हिमशृखंला एकैपटक अवलोकन गर्न सकिन्छ ।
कस्ता छन् पर्यटकीय गन्तव्य ?
आर्थिक वर्ष २०७२/७३ मा तत्कालीन जिल्ला विकास समिति ललितपुरले जिल्लाको दक्षिण भेगलाई पर्यटकीय गन्तव्यको मुख्य केन्द्र बनाउने पञ्चवर्षीय गुरुयोजना बनाएको थियो । गुरुयोजनाअनुसार दक्षिण भेगमा एकदेखि १२ दिनसम्मको प्याकेज टुर गर्न मिल्ने स्थान छन् ।
जंगल सफारी, चट्टान आरोहण, जलयात्रा, डुंगा सयर, प्याराग्लाइडिङ, गुफा ध्यान, घोडचढीलगायत छन् । गुरुयोजना लागू गर्न दक्षिण ललितपुरका कोन्ज्योसोम, महांकाल र वाग्मती गाउँपालिका मिलेर अगाडि बढ्नुपर्ने कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले बताइन् ।
दक्षिण भेगमा धरानको बराह, गुल्मीको रिडी र मुस्ताङको मुक्तिनाथजस्तै पुरातात्त्विक महत्त्वको तीर्थस्थल पनि छन् । गोटीखेलमा त्रिवेणी वैतर्णीधाम र घडघडा नदी छ । वैतर्णीधामको दक्षिणपट्टि कालेश्वर र उत्तरपूर्व ‘टापु’ पनि छ । यी टापु हिमालमा जोडिएको दृश्य धनुषाको जनकपुर, रौतहटको नगरपुर, पर्साको परमानुपर र भारतबाट समेत अवलोकन गर्न सकिन्छ ।
कालेश्वरस्थित मृगविसौना र काभ्रेसँगको सीमास्थल मानिने देउरालीस्थित थुम्काडाँडा जिल्लाकै सबैभन्दा अग्लो भ्यु प्वाइन्ट हो । यहाँबाट उत्तरका हिमशृंखलाहरू, पूर्वमा काभ्रे र रामेछापका विभिन्न स्थान, पश्चिम र दक्षिणमा मकवानपुर र सिन्धुलीदेखि तराईका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । मानिखेलको खोरभञ्ज्याङलाई पनि पर्यटकीय स्थानका रूपमा विकास गर्न सकिन्छ । गिम्दीको चमेरे गुफा, गोटीखेलबाट काभ्रेको पनौती निस्कने महादेव गुफा, प्युटारको नागगुफा उत्कृष्ट गन्तव्य स्थल हुन् ।
जंगल सफारी, चट्टान आरोहण र जलयात्राका लागि दक्षिण भेगमा अधिकांश जंगल क्षेत्र छन् । केही क्षेत्रलाई समेटेर जंगल सफारीको प्याकेज बनाउन सकिने स्थानीयवासी बताउँछन् । चौघरे–ठोस्ने खोलासम्मको सडक आसपासमा वन्यजन्तु तथा चराचुरुंगी अवलोकन गर्न सकिन्छ । मूल मोटरबाटोको दायाँबायाँ मृग, खरायो, कालिज, हरिण, जरायो, मृग जस्ता वन्यजन्तु देख्न सकिने भएकाले जंगलमा यात्राको सम्भावना छ ।
गुरुयोजनामा उल्लेख भएनुसार भारदेउ–गुप्तेश्वर डाँडामा निस्केर टुटुवा हुँदै कालेश्वरको मृगबिसौना र बतासेडाँडासम्म एकदिने जंगल सफारी रुट विकास गर्न सकिन्छ । त्यस्तै चौघरेबाट जंगल सफारी गरेर मृगविसौना पुगेका पर्यटकलाई देउरालीमा तामाङ समुदायको ढ्यांग्रो नाच र झाँक्री नाच देखाउन सकिनेछ ।
कालेश्वर महादेव मार्गमा पर्ने पार्वतीडाँडा र कालेश्वर महादेवडाँडाको पूर्वी र दक्षिणी मोहडामा चट्टान आरोहणको सम्भावना छ ।
बल्खु–माल्टासम्म जलयात्रा सञ्चालन गर्न सकिन्छ ।
माल्टामा मगर संस्कृति, नाच र संस्कृति झल्कने परिकारसहित कार्यक्रम सञ्चालन गर्न सकिन्छ । मानिखेलस्थित बिमिरेचौर फाँटमा ल्यान्ड गर्नेगरी प्याराग्लाइडिङ गराउने योजनामा रहेको वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए ।
जिल्लाको सबभन्दा चिसो र अग्लो स्थान फुल्चोकी हो भने सबैभन्दा होचो तथा गर्मी गिम्दीको हेल्टार । गर्मी र चिसो दुवै क्षेत्रमा पाइने चराचुरुंगी अवलोकन गर्न सकिने वर्ड वाचिङ रुट बनाउन सकिन्छ । त्यस्तै कृषि पर्यटनको सम्भावना पनि प्रचुर मात्रामा छ । कालेश्वर–बुखेल चिया, सुदूर दक्षिणी भेग कफी, दक्षिण पश्चिमी क्षेत्र दलहन र तेलहन बाली, भैंसीपालन र दूध व्यवसायको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने सरोकारवालाहरू बताउँछन् । खेल पर्यटन प्रवर्द्धन गर्न गल्फ, टेनिस, ब्याडमिन्टन कोर्ट, क्रिकेट मैदान बनाउने उपयुक्त स्थान पनि छन् । भट्टेडाँडा र माझखण्ड जोड्ने केबुलकारको प्रारम्भिक वातावरणीय परीक्षण (आईई रिपोर्ट) तयार भइसकेको छ । केबुलकार वाग्मती गाउँपालिका–३ भट्टेडाँडा छपेलीबाट ५ नम्बरस्थित माझखण्ड २.८ किमि दुरीमा बन्नेछ । सन् २०२० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कोन्ज्योसोमका उपाध्यक्ष लामाले चौघरेमा खेलमैदान बनाउने योजनामा रहेको बताइन् । ‘शंखुलाई दूधको पकेट क्षेत्र बनाउन लागिपरेका छौं,’ उनले भनिन् । धार्मिक प्याकेजमा जान चाहनेलाई गुप्तेश्वर, वैतरणी, कालेश्वर लोग्तुक गुम्बा, नागगुफा, टीकाभैरव, बतासे, गढी, शिसवन, चमेरे गुफा, रमिते, माझखण्ड विहार, भट्टेडाँडा, सुन्तोलीडाँडामा स्वर्गद्वारी मन्दिर, तिलेश्वर, गुप्तेश्वर, महदेव मन्दिर छन् । नल्लु डाँडामा पाथिभरा मन्दिर छ । पाथिभरालाई थप विकास गर्न गुरुयोजना बनाउने तयारीमा रहेको लामाले बताइन् ।

उपत्यका

विदेशबाट फर्किएर होमस्टे

- कान्तिपुर संवाददाता

भारदेउ तामाङ बस्तीका २८ वर्षीय राजन लो दुईपटक विदेशमा काम गरेर फर्किएका युवा हुन् । ‘यहाँको गुप्तेश्वर महादेव गुफामा वर्षको एकपटक मात्र धार्मिक पर्यटक आउँथे । हामीले खाने बस्नेको राम्रो सुविधा दिन थालेपछि अहिले सिजनमा मासिक चार/पाँच जनाको दुई टोली अवलोकनमा आउने गरेका छन्,’ उनले भने, ‘पर्यटक बढ्न थालेपछि होमस्टे सञ्चालन गर्ने योजनामा छु ।’ यसको लागि ६ लाख खर्चेर जस्तापाताले छाएको एकतले दुईकोठे घर बनाइएको छ ।
जिल्लाको दुर्गम दक्षिण पहाडी भेगमा पर्ने यही गाउँका श्याम तामाङले पनि होमस्टेका लागि आधा घर ठड्याइसकेका छन् । होमस्टे सञ्चालनमा आएपछि आठ जनासम्म पर्यटक बस्न मिल्ने उनले बताए ।
सुवास तामाङले त ‘१७ झ्याल’ नामक होमस्टे सञ्चालनमै ल्याएका छन् । उनले तीन युवालाई रोजगारी दिएका छन् । कतारमा काम गरेर फर्केपछि उनले होमस्टे सुरु गरेका हुन् । कोन्ज्योसोम गाउँपालिका–५ भारदेउमा अहिले भारदेउ भ्यु रिसोर्ट र सातवटा होमस्टे सञ्चालनमा छन् ।

 

उपत्यका

आधुनिक सामग्री प्रयोगले तिहारको मौलिकता हरायो

- लीला श्रेष्ठ
भक्तपुर नगरपालिका–५ तौमढीमा लागेको तिहार बजार । आधुनिक सामग्री हाबी हुँदा यसको असर तिहारको मौलिकतामा परेको संस्कृतिकर्मी बताउँछन् । तस्बिर ः लीला/कान्तिपुर

(भक्तपुर) - भक्तपुर नगरपालिका–२, ब्यासीकी संगीता तजले यतिबेला लक्ष्मीपूजाको तयारीमा व्यस्त छिन् । यसअघि नै उनले घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भ‍र्‍याङलगायतको सरसफाइ सिध्याइसकिन् । भाइटीकामा पाँच दाजुभाइलाई उपहार के दिने भन्ने अन्योल उनमा छ ।
तौमढीको तिहार विशेष मेलामा भेटिएकी संगीता किनमेलमा व्यस्त देखिइन् । ‘वर्षभरि मनाइने चाडपर्वमध्ये तिहारको महत्त्व बेग्लै छ,’ उनले भनिन्, ‘किनमेल, उपहार, दाजुभाइ/दिदीबहिनीको स्नेह, म्हःपूजा र आशीर्वाद ।’ लक्ष्मीपूजा, म्हःपूजा र तेलको धाराले छेकेर कहिल्यै नओइलाउने मखमलीको मालासँगै दाजुभाइको दीर्घायुको कामना गर्ने क्षण विशेष रहेको उनी बताउँछिन् ।
दाजुभाइ/दिदीबहिनीको प्रेम, स्नेह र सद्भावको पर्वका रूपमा मनाइने तिहारले संगीताजस्तै धेरै महिलालाई व्यस्त बनाएको छ । सहरको मुख्य चोकहरू तिहारका सामग्रीले भरिभराउ छन् । ‘दीपावली, सप्तरंगी टीका, देउसी/भैली, मखमली/सयपत्री फूल र स्नेहरूपी आशीर्वादले उमंग थपेको छ,’ स्थानीय सुन्तली जोशीले भनिन्, ‘तिहारको किनमेलले छुट्टै आनन्द दिन्छ ।’
बजारमा बिमिरो, ओखर, कटुस, सप्तरंगी टीका, मखमली, सयपत्री फूल, भाइमसला, ढाका टोपी, फलफूल, रंगीचंगी विद्युतीय बत्ती, माटोको पाला, कुचो, गरगहनालगायतको बिक्री बढेको छ ।
तिहारका लागि भक्तपुर नगरपालिकाका तौमढी, दत्तात्रय, सूर्यविनायक, सल्लाघारी, नयाँ थिमि, पुरानो थिमि, गठ्ठाघर, कौशलटार, लोकन्थलीलगायत मुख्य चोकहरूको रौनक बेग्लै छ । विशेषगरी लक्ष्मीपूजा, म्हःपूजा र भाइटीकाका लागि किनमेलको थलोको रूपमा तौमढीलाई लिने गरिएको तौमढी क्लबका अध्यक्ष विजय द्यौभडेलले बताए । ‘बिस्केट जात्रा, गाईजात्रालगायत भक्तपुरका अधिकांश चाडपर्वले तौमढीको रौनकता बढेको छ,’ उनले भने, ‘काभ्रे, कालीमाटीका व्यापारीसमेत तिहारमा तौमढी आउँछन् ।’ भक्तपुरका अन्य स्थानमा पनि भीड बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष तिहारमा महँगी बढेको सर्वसाधारणले गुनासो गरे । ‘तिहारमा नभई नहुने सामग्रीको भाउ सर्वसाधारण सुहाउँदो छैन,’ संगीताले भनिन्, ‘फलफूल, मखमली/सयपत्री फूल, मिठाईको भाउ अकासिएको छ ।’ चाडपर्वसँगै अकासिने बजार भाउलाई नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गरेको सर्वसाधारण बताउँछन् । मिठाई, मासुलगायत चाडपर्वमा नभई नहुने खाद्यवस्तुको अनुगमन हुन नसक्दा गुणस्तरहीन र महँगीको मार बेहोर्नुपरेको कमलविनायककी तारा अवालले बताइन् । ‘चाडपर्वले छोपेको छ, किनमेल नगर्ने कुरा पनि भएन,’ उनले भनिन्, ‘उच्च बजार भाउ नियन्त्रण गर्ने, गुणस्तरीय सामग्री खरिद–बिक्रीतर्फ सम्बन्धित निकायको अनुगमन फितलो छ ।’


आधुनिकताले छोप्यो
केही वर्षअघिसम्म माटाको पालामा दीपावली गर्ने भक्तपुर विभिन्न किसिमका विद्युतीय बत्तीले झिलीमिली देखिन्छ । थोरैले मात्र माटोको पाला प्रयोग गर्ने गरेका छन् । ‘बढ्दो आधुनिकता र प्रविधिका कारण विद्युतीय सामग्रीले बजार लियो,’ सूर्यविनायक नगरपालिकाकी रजनी जोशीले भनिन्, ‘प्राकृतिक र वातावरण सुहाउँदो सामग्रीले भन्दा रंगीचंगी र झिलीमिलीले मान्छेलाई तान्यो । माटोको भाँडोले स्वास्थ्यलाई असर गर्दैन, त्यो अहिलेका मान्छेले बुझेका छैनन् ।’
देखावटीपन र आधुनिकताले तिहारको मौलिकता लोप भएको संस्कृतिकर्मीहरू बताउँछन् । ‘हाम्रो तिहार परनिर्भरतामा आधारित भयो, भारतलगायत सात समुद्रपारिका मुलुकबाट सामान नआए तिहार मनाउनै नपाउने वातावरण बनिसक्यो,’ साहित्यकार एवं संस्कृतिकर्मी तेजेश्वरबाबु ग्वंगले भने, ‘मौलिकताबाट हटेर देखासिकीमा परिणत भयो ।’ पहिले आफैंले उत्पादन गरेको फलफूल, मखमली/सयपत्री फूलको उपहार आदानप्रदान हुने गरे पनि अहिले विद्युतीय बत्ती, रंगीन मिठाई भित्रिएसँगै देखावटी गर्ने शैलीका कारण मौलिकता हराउँदै गएको उनी बताउँछन् ।
ग्वंगका अनुसार नयाँ धानको चामल पिसेर बनाइएको सेल, मुटुमारी (एक किसिमको रोटी) बनाई दाजुभाइलाई कोसेली लग्ने संस्कार हराउँदै गयो । विभिन्न रङ मिसिएका मिठाईले गर्दा घरघरमा सेलरोटी पाक्ने क्रम घट्यो । त्यसैगरी माटोको पालामा तेल राखेर बत्ती बाली लक्ष्मीपूजा गर्ने समाज विद्युतीय बत्तीमा हराएको उनले बताए ।

उपत्यका

एक ट्रकमा १५ क्युफिट ठगी

- कान्तिपुर संवाददाता

(भक्तपुर) - मिनी ट्रकमा फलाम र काठको फ्रेम बनाई एक ट्रिपमा कम्तीमा १५ क्युफिट कम निर्माण सामग्री ढुवानी हुने गरेको पाइएको छ । बालुवा, रोडा, गिट्टी ढुवानी गर्दा सञ्चालकले बढी फाइदा लिन ट्रकको स्वरुप नै परिवर्तन गरेर उपभोक्तालाई ठगी गरिरहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । स्वरूप बिगारेको ट्रकबाट उपभोक्ता एक ट्रिपमा न्यूनतम १५ क्युफिट ठगिने गरेको जानकारी यातायात व्यवस्था कार्यालयले प्रहरीलाई उपलब्ध गराएको हो ।
वास्तविक ढालाभन्दा थप उचाल्न फलाम, काठ र ढलान गर्ने ट्रकलाई भक्तपुर प्रहरीले एक साताअघि नियन्त्रणमा लिएको थियो । कम्पनीले बनाएको स्वरूप बदलेर निर्माण सामग्रीमा ठगी गरेको आरोपमा नियन्त्रणमा लिएका ३४ मिनी ट्रकका सञ्चालकलाई कारबाही गर्न थप प्रमाणका लागि प्रहरीले यातायात कार्यालयसँग जानकारी माग गरेको थियो । कार्यालयले यस्ता ट्रकबाट औसतमा १५ क्युफिट निर्माण सामग्री कम हुने जानकारी दिएको भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले बताए । अपराध अनुसन्धान महाशाखाका अनुसार एक ट्रक निर्माण सामग्री ढुवानी गर्दा उपभोक्ता २ हजार २ सय रुपैयाँसम्म ठगिने गरेका छन् । नियन्त्रणमा लिइएका ट्रक सञ्चालकलाई आवश्यक कारबाहीको माग गर्दै उपभोक्ता हित संरक्षण मञ्च भक्तपुर र निर्माण सामग्री डिपो समूहले उजुरी दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए । सवारीसाधनको ढाला काट्ने र सामान राख्ने सतहमा ५ इन्चसम्म काठ/फलामको फ्रेम राखेर कम सामान अट्ने गरी स्वरूप परिवर्तन गरिएको थियो । डिपो सञ्चालकले काठ, फलामको रेडिमेड तथा फिक्स बक्स बनाएर उपभोक्तालाई ठगी गरेको पाइए पनि उजुरी नपरेकाले कारबाही गर्न प्रहरीले अरू प्रमाण जुटाइरहेको छ । भक्तपुर प्रहरीले मिनी ट्रक नियन्त्रणमा लिए पनि सञ्चालकलाई कारबाही गर्न भने सकेको छैन ।
डिपो सञ्चालकहरूले बिलमा समेत अनियमितता गरेको पाइएको प्रहरीले जनाएको छ । ‘निर्माण सामग्री ढुवानीको बिलमा परिणाम खुलाइएको छैन, हचुवाको भरमा उपभोक्तालाई बिल थमाएको पाइयो,’ एसपी प्रधानले भने । प्रहरीका अनुसार मिनी ट्रकको आधिकारिक डिलरले दिएको रिपोर्टमा मिनी ट्रकको क्षमता एक सय क्युफिट हो ।
अपराध अनुसन्धान महाशाखाले निर्माण सामग्री सप्लायर्सका सञ्चालकलाई ठगी मुद्दामा कारबाही गर्न प्रमाण जुटाइरहेको छ । महाशाखाले २३ जनालाई नियन्त्रणमा लिएर ठगी मुद्दा चलाएको छ । नापतौल तथा गुणस्तर विभागको प्राविधिक टोलीले ट्रकको उचाइ, चौडाइलगायतको प्रतिवेदन दिन अध्ययन गरिरहेको छ । त्यस्तै यातायात व्यवस्था कार्यालयलाई ट्रकको वास्तविक मापदण्ड, स्वरूप परिवर्तन र ट्रक धनीलगायतको जानकारी माग गरिएको महाशाखाले जनाएको छ । मिनी ट्रकको ढाला काट्ने, फलाम, काठको फ्रेम राखेर स्वरूप बदल्दै उपभोक्ता ठग्ने २३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले काठमाडौंमा ठगी मुद्दा चलाइसकेको छ । भक्तपुरले भने ट्रक नियन्त्रणमा लिए पनि डिपो र गाडी सञ्चालकलाई नियन्त्रणमा लिएको छैन ।

उपत्यका

तीनकुने पार्कमा सीसीटीभी

- कान्तिपुर संवाददाता

(काठमाडौं) - चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले तीनकुनेको चौरलाई अस्थायी पार्कमा परिणत गर्‍यो । राष्ट्रपति सी फर्केलगत्तै पार्कका बिरुवा र दुबोसमेत चोरिएपछि काठमाडौं महानगरपालिकाले सुरक्षाकर्मी खटायो । अब महानगरले तीनकुनेमा सीसीटीभी क्यामेरासमेत जडान गर्ने भएको छ ।
पार्कमा रोपिएका फूल तथा बिरुवाको संरक्षणका लागि करिब १२ वटा सिसीटीभी जडान गर्न लागिएको महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए । ‘बोटबिरुवा तथा फूलसँग सर्वसाधारणले फोटो खिच्न पाउँछन्,’ उनले भने, ‘तर फोटो खिच्न आउनेले बिरुवाहरू नउखेलून् भनेर सुरक्षा अपनाउन लागिएको हो ।’
तीनकुने बगैंचाको हेरचाह गर्न महानगरले तीन सरकारी बैंकलाई जिम्मा दिन लागेको छ । महानगरले कृषि विकास, राष्ट्रिय वाणिज्य र नेपाल बैंक लिमिटेडलाई बगैंचाको सुरक्षा तथा गोडमेलको जिम्मा दिने तयारी गरेको छ । चौरको वरिपरि सिमेन्टका पोल गाडेर बार लगाउन पनि सुरु गरिसकेको महानगरले जनाएको छ ।
पार्कको दुबो र बिरुवा जोगाउन महानगरले बिहान र बेलुका दैनिक दुईवटा ट्यांकरबाट पानी हालिरहेको छ । हाल पार्कको बिरुवा र दुबो हरियो देखिन थालेका छन् । पार्कमा फोटो खिच्न आउनेसमेत बढेका छन् । हाल पाँच जना सशस्त्र प्रहरीले सुरक्षा दिने गरेको र नगर प्रहरीले पार्कको अनुगमन गरिरहेको प्रमुख श्रेष्ठले बताए ।
महानगरका प्रवक्ता ईश्वरमान डंगोलले यस वर्षको नीतिअनुसार नै सीसीटीभी जडान गर्न लागिएको बताए । यसका लागि महानगरले ५ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । ‘महानगरको लागतमा नेपाल प्रहरीले सीसीटीभी जडानसँगै निगरानी गर्ने भएको छ,’ उनले भने ।

उपत्यका

लुटपाट गर्ने तीन जनामाथि म्याद थप

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– यात्रुमाथि लुटपाट गर्नेहरूलाई अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । शुक्रबार ललितपुर जिल्ला अदालतले लुटपाटमा संलग्न तीनै जनामाथि पाँच दिनको म्याद थप गरेको महानगरीय प्रहरी वृत सातदोबाटोका डीएसपी गौतम मिश्रले बताए । कोटेश्वरबाट जावलाखेल जाँदै गरेको बा ३ ख ४७६५ नम्बरको बसमा सवार काभ्रे स्थायी घर भएका मंगलबहादुर लोप्चनलाई बसभित्र घेरा हाली उनीहरूले बिहीबार रकम लुटेका थिए । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी–६ घर भई ललितपुर–१ इमाडोल बस्ने सुजन तामाङ, काभ्रे बेथानचोक–६ घर भई ललितपुर महालक्ष्मी–१ बस्ने सुमन आलेमगर र मकवानपुर कुलेखानी–४ घर भई ललितपुर–१ राता मकैचोक बस्ने सुरज तामाङ छन् । 

उपत्यका

मन्त्रालयका चालकलाई ट्राफिक सचेतना

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– महानगरीय ट्राफिक प्रहरी महाशाखाले गृह मन्त्रालयकै सवारी चालक तथा इच्छुक व्यक्तिबाट ट्राफिक निमयसम्बन्धी सचेतना कक्षा सुरु गरेको छ । महाशाखाले शुक्रबार मन्त्रालयका ३५ सवारी चालकलाई ट्राफिक नियम, कानुनी ज्ञान तथा मानवीय संवेदनाबारे कक्षा सञ्चालन गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नेतृत्व सम्हाल्नेबित्तिकै सातवटा प्राथमिकताका योजना सार्वजनिक गरेका थिए । त्यसमध्ये ट्राफिक अनुशिक्षण र जनचेतनालाई विशिष्टीकरण गर्ने योजनासमेत थियो । ढकालले भने, ‘अब बाँकी मन्त्रालयका सवारी चालकलाई पनि प्रशिक्षण दिनेछौं ।’

उपत्यका

वैज्ञानिक सम्मेलनमा अनुसन्धान केन्द्रको संकल्प

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा विशिष्टीकृत अनुसन्धान केन्द्र निर्माण गर्ने संकल्पसहित पहिलो अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सकिएको छ । सम्मेलनले नेपालमा सुविधासम्पन्न केन्द्रीय प्रयोगशाला निर्माणमा पनि जोड दिएको छ । सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै जलवायु परिवर्तन अध्ययन, जडिबुटी अनुसन्धान, रसायन, भौतिकशास्त्र लगायत विज्ञानका अन्य विषयगत क्षेत्रका अनुसन्धान केन्द्रहरूको आवश्यकता औंल्याएको छ । यस्ता केन्द्रहरू राष्ट्रिय आवश्यकता अनुसार मुलुकका विभिन्न ठाउँमा स्थापना गर्न सरकारलाई घचघच्याइने नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले जानकारी दिए ।
सम्मेलनले केन्द्रीय मानक प्रयोगशालाको आवश्यकतासमेत औंल्याएको छ । विभिन्न प्रयोगशालामा गरिएको अनुसन्धानको पुनःपरीक्षण मानक प्रयोगशाला (रेफ्रेन्स ल्याब) मा गर्न सकिन्छ । नास्टसहित राष्ट्रिय युवा परिषद् र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संयुक्त रूपमा तयार गरेको संकल्पपत्रमा अनुसन्धान र नवप्रवर्तनका लागि अनुसन्धान कोष स्थापना गर्ने उल्लेख छ । सम्मेलनमा अनुसन्धानका क्षेत्रको प्राथमिकता निर्धारण गर्न विज्ञ सम्मिलित कार्यदल बनाउन सरकारलाई आग्रह गर्ने निर्णय भएको राष्ट्रिय युवा परिषद्का सदस्य एवं त्रिविका उपप्राध्यापक खिम पन्थीले जानकारी दिए । सम्मेलनमा १८ वटा विषयका ६५ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

Page 6
सम्पादकीय

सिर्जनाको मापक सरकार होइन

आफूले गाएको एउटा र्‍याप गीतकै कारण पक्राउ परेका गायक भिटेन अर्थात् समीर घिसिङ त भनेको समयमा उपस्थित हुने तारेखमा शुक्रबार प्रहरी हिरासतबाट छुटे तर उनको पक्राउ र यसअघि पनि राज्यतर्फबाट भएका यस्तै गतिविधिले उब्जाएका प्रश्नहरू भने झनै पेचिलो बनेका छन् । के हाम्रो राज्य संविधानप्रदत्त वाक तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरी कला, साहित्य, संगीत, सिर्जनाहरूको स्वतन्त्र प्रस्फुटनमा अंकुश लगाउन चाहन्छ ? नागरिक अधिकारका संवैधानिक सीमाहरूभन्दा धेरै तल ओर्लिएर ‘बर्लिनको पर्खाल’ खडा गर्नेतर्फ सरकार उद्यत भएको त हैन ? कतै यी घटना आम कलाकार/सर्जकहरूलाई हतोत्साही बनाएर ‘सेल्फ सेन्सरसिप’ लागू गर्ने मनसायका साथ मञ्चन गरिएका ‘रिहर्सल’ त होइनन् ? सरकारी नियत यस्तै होला–नहोला, तर जब मुलुकको प्रहरी अपराध अनुसन्धान गर्नुपर्ने मुख्य दायित्वभन्दा बाहिर गएर कला तथा सिर्जनाको नैतिकता जाँच्ने तहमा ओर्लिन्छ, तब यी प्रश्नहरू स्वाभाविक रूपमा उठ्छन् । तसर्थ, यी पक्राउका घटनाहरू नियोजित होइनन् भने पनि सरकार बेलैमा सचेत हुन आवश्यक छ ।
युट्युबमा करिब दुई करोड ‘भ्युज’ पाइसकेको ‘हामी यस्तै त हो नि ब्रो’ गीतले अश्लीलता फैलाएको आरोप लगाएर प्रहरीले गायक भिटेनलाई पक्रेको थियो । उक्त गीतमा सामाजिक मर्यादाविपरीतका शब्द रहेको प्रहरीको जिकिर छ । पछि, सार्वजनिक वृत्तको व्यापक दबाबका कारण जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि एक साताको म्याद बुझिसकेको प्रहरी उनलाई छाड्न बाध्य भयो । यसबीचमा उनको उक्त गीत भने युट्युबबाट हटाउन लगाइयो । भिटेनका समर्थकहरूले प्रहरीले र्‍यापको अर्थ नबुझेको आरोप लगाएका छन् । अरू सामान्य गीत–संगीत र र्‍यापको अन्तर के हो, अनि भिटेनको गीत कति श्लील, कति अश्लील, त्यो बहसको बेग्लै विषय हो । तर, यहाँनेर सवाल उठ्छ, कुनै सिर्जना हाम्रो संस्कृति र मूल्य–मान्यताअनुरूप भए–नभएको जाँच्ने प्राधिकार के प्रहरी हो ? फेरि, गीत–संगीत या भनौं भोलि कविता वा कथा अथवा यस्तै कुनै सिर्जना सभ्योचित छन् कि अभद्र भनेर छुट्याउने काम सरकारको हो ?
भिटेन पक्राउको घटनामा प्रहरी मात्र होइन, सरकार स्वयं नै जिम्मेवार देखिन्छ । किनभने यो अपवादको घटना होइन । यसअघि पनि अश्लील भयो भन्दै वा कला/समीक्षा चित्त बुझेन भन्दै प्रहरीले एकपछि अर्को कलाकार/समीक्षक पक्राउ गर्नुले सिर्जना–स्वतन्त्रताको सवाल बढी गम्भीर बनेको छ र यस्ता कारबाही एउटा शृंखलामा भइरहेका छन् । केही दिनअघि मात्र प्रहरीले गायक दुर्गेश थापालाई नियन्त्रणमा लिएको थियो । ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतका केही शब्द सच्याउन लगाएर मात्र उनलार्ई छाडिएको थियो । त्यसअघि फिल्म ‘वीर विक्रम २’ को व्यंग्यात्मक शैलीको समीक्षा गरेका कारण युट्युबर प्रनेश गौतम पक्राउ परेका थिए । गत वर्ष सत्तारूढ दलका कार्यकर्ताले धम्क्याएपछि गायक पशुपति शर्माले ‘लुट्न सके लुट...’ बोलको गीत नै परिमार्जन गरेका थिए ।
यसरी बेला–बेलामा भइरहेका घटनाले राज्य अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न सक्रिय रहेको सन्देश गएको छ । कलाकार/सर्जकहरूमा सेल्फ सेन्सरसिपको सन्त्रास छाएको छ । आज युट्युबमा छिरेको प्रहरी भोलि कतै साहित्य, रंगमञ्च, पेन्टिङलगायत कला–सिर्जनाका अन्य क्षेत्रमा समेत पस्ला कि भन्ने भय बढेको छ । नाम चलेका कलाकार त पक्राउ पर्दारहेछन् भन्ने भएपछि आम नागरिक त्यसै त्रसित हुने भइहाले । यस्तो भय लोकतन्त्रमाथिकै त्रास हो । अभिव्यक्ति स्वतन्त्रताको उन्नत अभ्यास भइसकेको मुलुकमा कलाकारले कहिले प्रहरी र कहिले सत्तारूढ दलका कार्यकर्ताको दबाबका कारण भटाभट आफ्नो सिर्जना फिर्ता लिने वा परिमार्जन गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण मात्र होइन, निन्दनीयसमेत छ । यसले हाम्रो लोकतान्त्रिक गणतन्त्रको चेतनामै प्रहार गरेको छ ।
यी घटनाहरूसित जोडिएको अर्कोर् सवाल– ‘पब्लिक डोमेन’ मा अनेक थरी विषय हुन्छन् । गीतसंगीत पनि दसथरी छन् । के हेर्ने, के सुन्ने नागरिक स्वतन्त्रताको विषय हो । सामाजिक रूपमा पाच्य नहुने सिर्जना त्यसै पनि आम रोजाइमा पर्दैन । ती सिर्जना जसका लागि लक्षित छन्, उनीहरू नै हुन् त्यसको स्तर जाँच्ने न्यायाधीश पनि । तिनका विषयवस्तुले कसैलाई व्यक्तिगत चोट पुगेको छ भने त्यसको कानुनी उपचार खोज्ने विधिसम्मत बाटो छँदै छ । तर प्रहरी आफैं ‘अग्रसक्रिय’ भएर कलाकारहरूविरुद्ध जाइलाग्नु अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकविरुद्ध जानु हो । जसरी अभिव्यक्ति माध्यमका अनेक रूप छन्, त्यसैगरी सिर्जनाका पनि अनेक विधा र शैली छन् । यी सबैको प्रयोग र बुझाइमा राज्यभन्दा नागरिक अघि छन् । पछि परेको राज्यले अघि हिँडेको नागरिकको खुट्टा समाउन मिल्दैन, बरु सिक्नुपर्छ ।
तर यहाँ के भुल्नु हुँदैन भने, यी कलाकारहरूविरुद्ध राज्य लागेकामा विरोध गर्नुको अर्थ उनीहरूका सबै सिर्जना गुणस्तरीय र सही छन् भनिएको होइन । जहाँसम्म भिटेनको उक्त गीतको सन्दर्भ छ, त्यसका केही शब्द समग्र महिलालाई होच्याउने मात्र नभई अस्तित्वमै प्रहार गर्ने किसिमका छन् । अश्लीलमात्र नभई आपत्तिजनक विषय हो यो । आम समुदायको पहुँच हुने जुनसुकै सञ्चार माध्यममा पनि यस्ता सामग्री राख्नु मर्यादित कार्य होइन । तसर्थ, कलाकार/सर्जकहरू आफैं यसतर्फ सचेत हुन अपरिहार्य छ । तर प्रहरीले यसैलाई निहुँ बनाएर उनीहरूलाई धरपकड गर्न भने पाउँदैन । यसखाले गीत–संगीत मन पराउन या नपराउन जोकोही स्वतन्त्र र सक्षम छन्, यसको स्वीकार्यता या अस्वीकार्यता मापन समाज आफैंले गर्छ, राज्यले प्रहरी–प्रशासनको डन्डा प्रयोग गरेर यसमा निर्णय सुनाउन खोज्नु गलत हो ।

सम्पादकलाई चिठी

जनप्रतिनिधि हुन् कि ठेकेदार ?

‘कहीँ नभएको जात्रा हाँडीगाउँ’ मा भनेजस्तो जनप्रतिनिधिहरूले जनतामाथि नै अत्याचार गरिरहेका छन् । जनकल्याणका लागि मरिमेट्छु भनेर भोट माग्ने अनि ठाउँमा पुगेपछि तिनै नागरिकमाथि डोजर चलाउनेजति नैतिकताविहीन मानिस को हुन सक्ला ? जनप्रतिनिधि भएपछि जे गरे पनि हुने हो ? उनीहरू कानुनभन्दा माथि हुन् ?
नत्र अदालतले व्यक्तिको जग्गा क्षतिपूर्ति नदिई अधिग्रहण गर्न पाइँदैन भन्दाभन्दै किन बल मिच्याइँ गर्छन् ? राजनीति अब जनकल्याणको विषय नभई व्यापार हुँदै गइरहेको छ । विकास बजेट जनप्रतिनिधिहरूले मनलागी बाँडिरहेका छन् । विकास भनेको मानौं आफ्ना आसेपासेलाई पैसा बाँड्नु हो ?
पछिल्लो समय जनप्रतिनिधिहरूले आफैं डोजर किन्ने, बाटोको ठेक्का लिने अनि मनलागी खन्दै हिँड्ने परिपाटीले जरो गाडेको छ । केही दिनअघि मात्रै बैतडीमा जनप्रतिनिधिहरूले चरम दादागिरी प्रदर्शन गरे ।
स्थानीय बासिन्दाले आफ्नो जग्गामा डोजर नचलाउन हात जोडी बिन्ती गर्दा पनि टेरेनन् । उल्टै उनीहरूमाथि नै डोजर चलाउने दुष्कर्म गरे, जसबाट दुई जना सख्त घाइते भए् । मानवता गुमाएका त्यस्ता जनप्रतिनिधि, मान्छेमाथि डोजर चलाउने ड्राइभर र त्यहाँ संलग्न सबैलाई हदैसम्मको कारबाही हुनुपर्छ ।
जनप्रतिनिधिहरूको आतंकको साक्षी काठमाडौंकै गोकर्णश्वर नगरपालिकाको तारेभीर पनि भएको छ । त्यहाँ सांसद र स्थानीय डनहरूको मिलेमतोमा डाँडा भत्काएर बाटो खोलियो । अहिले त्यहाँ पहिरोको समस्या देखिएको छ । बाटो बनाउनुअघि
माटो त्यसका लागि ठीक छ कि छैन भनी निरीक्षण गर्नुपर्ने होइन र ? यसरी ठेकेदार नेता र नेताका दुईचार अह्रौटे–भरौटेहरूले नागरिकलाई आतंकित बनाइरहेका छन् । विकासका नाममा गाउँगाउँमा विनाश निम्तिरहेको छ । यसबाट गाउँलाई कसले जोगाउला ?
– पुरुषोत्तम घिमिरे, काठमाडौं

सम्पादकलाई चिठी

सम्पदाले भरिपूर्ण

प्रत्येक वर्ष काठमाडौं उपत्यका विश्वका प्रमुख १० पर्यटकीय गन्तव्यभित्र परिरहँदा गौरवान्वित नहुने नेपाली नहोलान् । विकसित मुलुकहरूले हाम्रो राजधानीलाई अनुपम देखिरहनुमा यहाँको भौतिक संरचना नभई प्राकृतिक सौन्दर्य, सौम्य वातावरण, धर्म, संस्कृति, मानवीय व्यवहार, मौलिक कलाकृतिले भरिएका ऐतिहासिक धरोहरहरूले अहम् भूमिका खेलेको देखिन्छ । भन्ने हो भने काठमाडौंलाई समेत माथ गर्ने र विश्वलाई मन्त्रमुग्ध बनाउने ठाउँहरू नेपालमा निकै छन् ।
जुम्लाको सिंजा उपत्यकालाई युनेस्कोले विश्व सम्पदा सूचीमा पार्नु कम महत्त्वको विषय हो र ? सातै प्रदेशमा यस्ता अलौकिक स्थान
छन् र विश्वले तिनमा खोट लाग्न नदिन आह्वान गरिरहेको पनि छ । हामी भने विकराल परिस्थितिमा गुज्रिरहेका छौं, प्रादेशिक सरकार गठन भएको दुई वर्ष पुग्न लाग्दा उपलब्धि भने शून्यप्रायः बनेको छ ।
चार वटा प्रदेशले अझै राजधानी तोक्न सकेका छैनन् भने अरू के आश गर्ने ? यो जस्तो अकर्मण्यता के होला र ? लुम्बिनी परिसर जाँडभट्टी र धूवाँधूलोले भरिनु, त्यहाँ हप्तौंसम्म बसेर बौद्धज्ञान, शान्ति प्राप्त गर्न आएका पर्यटक आत्तिएर ३५ मिनेटभित्रै भागाभाग गर्नु पनि हाम्रा लागि राम्रो लक्षण होइन । अर्कातिर, नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा नगण्य लगानीबाट पर्यटकलाई मुलुकका कुनाकुनासम्म पुर्‍याउने, मौलिक स्वरूप, समाज, धर्म, संस्कृतिको परिचय गराउने खालको अभियान न प्रादेशिक, न संघीय सरकारबाटै थालनी हुन सकेको छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

सम्पादकलाई चिठी

ठूलाबडाको लामो हात

- कान्तिपुर संवाददाता

‘ऋण तिर्न अर्को ऋण’ शीर्षक समाचार पढ्दा अचम्म लाग्यो । पीडित किसानहरूका सोझा र अनपढ बाउबाजेले मल्ल परिवारका लागि व्यापार गर्न आफ्ना जग्गाको लालपुर्जा बैंकमा डिपोजिट राखी ऋण दिलाए । परेका बेला ठूलो गुन लगाएका रहेछन् ती किसानहरूले । यसको सट्टामा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल र उनको परिवारले ती किसानको सहयोग र गुणगान गाउनुपर्थ्यो । तर अवस्था उल्टै भएर आयो । जसले सहयोग गर्‍यो उसले जस पाउनु त कता हो कता, त्यो ऋणको साँवाब्याज तिर्न अन्ततः आफ्नो जग्गा नै बेच्नुपर्‍यो । किसानहरूले समस्या समाधानका लागि केही गर्न सक्ने भनिएका सबैलाई बिन्ती गरे, तर गरिबका पक्षमा बोलिदिने कसले ?
– जगदीशप्रसाद चौधरी, घोडाघोडी–१०, कैलाली

सम्पादकलाई चिठी

रौतहट काण्ड र राज्य पक्ष

‘राज्यपक्षकै संलग्नतामा प्रमाण नष्ट’ शीर्षक दर्दनाक समाचारले राजनीतिक व्यक्तिलाई जोगाउन राज्य संयन्त्र कतिसम्म पंगु बन्न सक्दोरहेछ भन्ने खुलाएको छ । रौतहटमा सांसद मोहम्मद अफताव आलमको कुकृत्य कुनै पनि कोणबाट क्षमायोग्य थिएन र छैन । तर, आलमको अपराधलाई ढाकछोप गर्न राज्य पक्ष नै अघि सरेको रहेछ । बाह्र वर्षपछि खोलो पनि फर्किन्छ भनेझैं, पीडितहरूको बारम्बारको ढकढकपछि त्यो काण्डको बाह्रै वर्षपछि न्यायको ढोका खुल्न सकेको छ । राज्यले अब प्रायश्चितको राम्रो मौका पाएको छ । आलम र प्रहरी–प्रशासनका संलग्न व्यक्तिहरूलाई सजाय दिई आफ्नो पूर्वकमजोरी सच्याउने उपयुक्त अवसर पाएको छ । आलम जस्ता क्रूर पीडकलाई हिरासतमा लिनु आफैंमा राम्रो काम त हो, तर आम नागरिक फेरि पनि ‘नेपालको कानुन दैव जानून्’ भन्नेझैं हुने त होइन भनेर सशंकित छन् । किनकि, राजनीतिको हाँगो समाएका धेरै आलमले यसअघि कैयौं अपराधबाट उन्मुक्ति पाएको यथार्थबाट नागरिक अनभिज्ञ छैनन् । राज्यले आफूलाई साबित गर्ने बेला हो यो । तत्कालीन गृहमन्त्री, प्रहरी प्रमुख, प्रजिअ दोषी देखिए तिनलाई पनि छाड्न हुन्न । सम्बन्धित सम्पूर्ण व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर पीडित पक्षलाई न्याय दिलाउने दायित्व यो सरकारको काँधमा आएको छ । आशा छ, सरकारले खुट्टा कमाउनेछैन ।
– खिमराज गिरी, काठमाडौं

न्याय कसरी गर्नुपर्छ भन्नेबारे नेपालले बंगलादेशबाट सिक्दा राम्रो होला, विशेषतः रौतहट काण्डमा । हालै बंगलादेशको एउटा फैसलाले पूरै विश्व हल्लायो । यौन हिंसापीडित एक छात्रालाई जिउँदै जलाएर मारेको एक घटनामा न्यायालयले १६ अपराधीलाई फाँसीको सजाय तोक्यो । तर, नेपालमा त्यत्रा मानिसलाई इँटाभट्टामा हालेर मार्दासमेत त्यो एक अभियुक्तमाथि १२ वर्षसम्म मुद्दासम्म दायर गरिएन । जघन्य अपराधको अभियुक्तलाई पार्टीले उल्टै चुनावमा टिकट दिने र मन्त्री बनाउनेसम्मको काम गर्‍यो । कस्तो विडम्बना ! जुनसुकै व्यक्तिले गरेको होओस्, अपराध भनेको अपराधै हो । अपराधीको कुनै जात, धर्म, रंग वा लिंग हुँदैन । फौजदारी न्यायमा अपराधीसँगै अपराध पनि मर्छ भन्ने गरिन्छ । यसर्थ नेपालका न्यायाधीश, प्रहरी, सरकारी वकिल सबैले आपराधिक कार्यमा कठोर नीति अपनाउन सक्नुपर्छ । अनि मात्र नेपालमा पनि वास्तविक रूपमा कानुनको शासन लागू भएको ठहर्नेछ । आलमलाई यतिका वर्षमा जोगाएको कलंक पखाल्न राज्यले सम्बन्धित सबैलाई कठोर सजाय दिन सक्नुपर्छ । यो प्रकरणमा नेपाली कांग्रेसका नेता–कार्यकर्ताले पनि बाधा–अड्चन पुर्‍याउने र अनावश्यक संरक्षण दिने काम नगरून् ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

दृष्टिकोण

कता गइरहेछ संघीय अभ्यास ?

- कृष्ण खनाल

गत साता प्रदेशमा केकस्ता संस्था बनेका छन्, तिनको काम र गति के छ भन्ने विषयको एउटा संक्षिप्त छलफलमा सहभागी हुने मौका जुट्यो । संविधान बनिसकेपछि म यस्ता छलफलबाट प्रायः अलग्गिएको छु भने पनि हुन्छ । पहिलाजस्तो जिज्ञासा, खोजी र भावनात्मक रौनक पाइन्न । बन्दकोठामा केही दाताको परियोजनाका औपचारिकतामा खुम्चिएजस्तो लाग्छ संघीयता–चासो र बहस । आयोजक संस्था ‘डेमोक्र्यासी रिसोर्स सेन्टर’ ले केही अध्ययन सामग्री पनि तयार गरेको रहेछ । तिनको अध्ययन गरेर विषयमाथि विचार पनि राख्न पाइने भएपछि म सहभागी हुन अरू प्रोत्साहित भएँ । त्यहाँ उठेका केही विषय संघीयता कार्यान्वयन र विकासका हिसाबले निकै सान्दर्भिक छन् । त्यसैको सेरोफेरोमा यहाँ थप विमर्श गर्नु सामयिक लागेको छ ।
संघीय प्रणालीका लागि प्रदेश प्रवेशविन्दु हो । प्रदेश झिकिदिँदा संघीयता रहँदैन । संघीयताको अभ्यास गर्न केन्द्रको भन्दा प्रदेशको भूमिका महत्त्वपूर्ण हुन्छ । हो, नेपालमा केन्द्रीय सोच चाहे त्यो राजनीतिक, प्रशासनिक वा नागरिककै तहमा किन नहोस्, संघीयताअनुकूल बन्न सकेको छैन । यो एउटा अनावश्यक बोझ हो भन्ने मानसिकता बढी छ । प्रदेशले यो चुनौतीलाई चिरेर
आफ्नो उपादेयता स्थापित गर्न सके मात्र संघीय अभ्यासले अर्थ राख्छ र जनतामा प्रभाव पनि । त्यसैले यतिखेर संघीयताको कुरा गर्दा स्वाभाविक रूपमा हाम्रो ध्यान प्रदेशमा केन्द्रित हुन्छ । शून्यबाट प्रारम्भ गर्नुपरेको हाम्रोजस्तो अवस्थामा प्रदेशमा के भइरहेछ ? कस्ता संस्थाहरू बनिराखेका छन् ? तिनले कसरी काम गर्दै छन् ? महत्त्वपूर्ण सवाल हुन् । सुरुदेखि नै यसको मसिनो अध्ययन र निगरानी जरुरी छ, संघीयता विकासका लागि । संघीयता मात्र होइन, कुनै पनि प्रणाली एकै दिनमा बन्ने होइन । यो त प्रारम्भ मात्र हो । अगाडिको यात्रा कस्तो हुन्छ, त्यसमा धेरै कुरा निर्भर गर्छ । संघीय अभ्यासले एउटा स्पष्ट मार्ग पछ्याउन धेरै लामो यात्रा पार गर्नुपर्ने हुन्छ । तर बिहानीले दिनको संकेत गर्छ भनेजस्तै अहिले देखिएका गतिविधिले हाम्रो संघीय यात्रा कस्तो हुँदै छ, कता जाँदै छ भन्ने अनुमान गर्न सकिन्छ ।
प्रदेशका लागि निर्माण भएका सरकारी संस्था र तिनका काम हेर्दा लाग्यो, हाम्रो संघीयता सिंहदरबारकै शासन प्रशासन
(ब्युरोक्र्यासी) को विस्तारित रूप रहेछ । मोडेल सिंहदरबार नै भएको छ । प्रदेश सरकारका नाममा सिंहदरबारकै जस्तो बृहत् प्रशासन संरचना र कर्मचारीतन्त्रको विस्तार हुन लागेको प्रतीत हुन्छ । सात मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, प्रदेशसभा सचिवालय र न्यायाधिवक्ताको कार्यालयसमेत मुख्य दस वटा कार्यालय भए पनि तीअन्तर्गत हिजोजस्तै निर्देशनालय, विभाग, शाखा, प्रशाखा हेर्दा हामीमा उही पुरानै परिपाटीलाई दोहोर्‍याउनुभन्दा कुनै मौलिक सोच देख्न सकिन्न । संविधानले कार्यगत आधारमा कुनै जिम्मेवारी नदिएका जिल्ला शाखा/कार्यालय पनि यथावत् छन् । कृषि, शिक्षा, स्वास्थ्य, मालपोत जस्ता स्थानीय सरकारअन्तर्गत हस्तान्तरण हुनुपर्ने काम र जिम्मेवारी जिल्लामै रहने प्रायः निश्चित देखिन्छ ।
आखिर यस्तो किन भयो ? संघीयतामा प्रवेश र रूपान्तरणका लागि हाम्रो तयारी अत्यन्तै कम र अस्पष्ट थियो । प्रदेशसभाको चुनाव र प्रशासनिक संरचना भए पुग्छ भन्ने बुझाइ भयो । त्यसैले प्रदेशमा कति कर्मचारी, कुन–कुन तह, तिनको कसरी खटनपटन गर्ने भन्ने कुराबाहेक संघीयकरण योजना (ट्रान्जिसन प्लान) नै बनेन । संविधान जारी भइसकेपछि संघ, प्रदेश र स्थानीय सरकारले गर्ने भनी सूचीकृत कामलाई अलि विस्तारित रुपमा कसको भागमा के भनेर छुट्याउने (अनबन्डलिङ) एउटा सबैभन्दा महत्त्वपूर्ण काम भयो । त्यसैका आधारमा अहिले प्रदेशमा सरकारी कार्यालयको स्वरूप र संख्या तय भएको छ । तर यो नै संघीयकरणको प्रमुख तत्त्व होइन, केन्द्रीकृत एकात्मक प्रणालीबाट स्वायत्त प्रदेशको तहमा संक्रमणलाई सहजीकरण गर्ने माध्यम मात्र हो । यो आफैंमा पूर्ण होइन ।
हाम्रो सन्दर्भमा संघीयतामा जाने भनेको माथि अर्थात् सिंहदरबारबाट हुने काम तल अर्थात् प्रदेशबाट हुने हो । तर यो टप–डाउन अवधारणामा सीमित कुरा होइन । एउटा निश्चित अवधिमा न्यूनतम पूर्वाधार बनेपछि प्रदेशले आफ्नो जिम्मेवारीका विषयमाथि कानुन बनाएर आफ्नै प्रशासनिक संरचना तथा अन्य आवश्यक संस्थाका माध्यमबाट तिनको कार्यान्वयन गर्न थाल्छ । तब हामी भन्न सक्छौं– संघीयता कार्यान्वयनको एउटा महत्त्वपूर्ण चरण पार गरिएछ । प्रदेशहरू क्रियात्मक अस्तित्वमा आएछन् ।
बीस महिना भयो प्रदेश सरकार अस्तित्वमा आएको । तर एउटा नागरिकका रूपमा मैले अझै यसको अस्तित्व महसुस गर्न सकेको छैन । आम नागरिकका काम त अहिले स्थानीय सरकारको तहबाटै पूरा हुन्छन् । जिल्लास्थित कार्यालय पनि छँदै छन्, सरकारबाट लिनुपर्ने बाँकी काम त्यहाँबाट हुन्छ । दैनिक प्रयोजनका लागि जनता प्रदेशको तहमा पुग्नु आवश्यक छैन, त्यस्तो हुनु पनि हुँदैन । प्रदेशले गर्ने कामबाट मुलुकमा विकास, प्रादेशिक स्रोतसाधनको प्रभावकारी परिचालन, रोजगारी प्रवर्द्धन, व्यवसाय र अवसर वृद्धिको अपेक्षा गरिन्छ । यसले उद्योग, वाणिज्यलगायत विभिन्न पेसा व्यवसाय लाभान्वित हुन्छन् । यी सबै काम प्रदेश सरकार आफैंले गर्ने पनि होइन । निजी क्षेत्रको सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । तर ती क्षेत्रका मानिसबाट पनि मैले सुन्न पाएको छैन, प्रदेशबाट मेरो/हाम्रो यो काम भयो वा भएन भनेर । जनसरोकारका कामले नागरिकमा क्रिया–प्रतिक्रिया जन्माउँछ । यदि त्यस्तो प्रतिक्रिया केही सुन्न पाइँदैन भने काम पनि भएको छैन । कसैलाई भोट हालेकै भरमा वा चिनेजानेका कोही पदमा पुग्दैमा प्रदेशको अस्तित्व बोध हुने होइन ।
मुख्यमन्त्रीलगायत प्रदेशका अधिकारीहरूको एउटै गुनासो सुनिन्छ– हामीसँग कर्मचारी भएन, संघीय सरकारको खटनपटनमा निर्भर हुनुपर्‍यो । आफ्नै कार्यालय भवन छैनन्, बजेट पनि कम छ । संघले हाम्रो कुरा राम्रोसँग सुन्दैन आदि । सबै प्रदेशका यी साझा गुनासा हुन् । अब गुनासो गरेर समस्यालाई अर्को तहमा पन्छाउँदैमा प्रदेशले मुक्ति पाउँदैन । उसले समस्याको सामना गर्नुपर्छ, उपयुक्त निकासको बाटो निकाल्नुपर्छ । उदाहरणका लागि, संविधानले प्रदेशको निजामती र अन्य सरकारी सेवा प्रदेश मातहत राखेको छ । यसका लागि आवश्यक कानुनी व्यवस्था गर्न ऊ आफैं अधिकारसम्पन्न छ । प्रदेशले लोकसेवा आयोग बनाउन सक्छ, कर्मचारीको दरबन्दी र तह निर्धारण गर्न सक्छ । प्रदेश लोक सेवा आयोगले तिनको नियुक्तिका लागि परीक्षालगायत व्यवस्था गर्न सक्छ । तर यो सबै प्रक्रिया अहिले संघीय तहमा निजामती सेवासम्बन्धी कानुन बनेको छैन भनेर अड्किएको छ । किन सक्तैन प्रदेश सरकार ‘प्रोएक्टिभ’ हुन ? उसले
अग्रसरता लिन थाले संघीय सरकारलाई पनि तातो लाग्छ,
दबाब पर्छ । द्वन्द्व बढे न्यायिक समाधान खोज्न सकिन्छ । प्रदेश सरकार आफैं एउटा पक्ष भएर सर्वोच्च अदालतको ढोका घचघच्याउन सक्छ । संघीयताको विकासका लागि यो अनपेक्षित कुरा होइन ।
संघीयताको बहस प्रारम्भ गर्दा मलाई लागेको थियो, यो नेपालका लागि निकै सिर्जनशील विचार र प्रयोग साबित हुनेछ । सामन्ती शैलीमा हुर्किएको केन्द्रीयकरण उल्टिनेछ । राज्यको शक्ति, स्रोत र काम जनतानिकट हुनेछ । प्रदेशहरूले आआफ्ना स्रोत र सामर्थ्यका आधारमा तुलनात्मक लाभ र पहिचान बनाउन सक्नेछन् । हरेक प्रदेशले विकास र समुन्नतिको आफ्नो मोडेल बनाउनेछन् । तर अहिले म देख्दै छु– प्रदेशको सरकारी संरचना केन्द्रकै ‘कपी पेस्ट’ भइरहेछन् । संघीय अभ्यासका लागि अत्यन्त महत्त्वपूर्ण मानिएका प्राकृतिक स्रोत तथा वित्त आयोग, भाषा आयोग ब्युरोक्र्याटिक संरचनामा सीमित भएका छन् । अन्तर–सरकारी वित्त व्यवस्था ऐनले संघ, प्रदेश र स्थानीय सरकारबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड, करका क्षेत्रहरूको निर्धारण गरिसकेको छ । यसले आयोगको कामलाई ओभरटेक गरेको छ । तर सरोकार राख्नुपर्ने प्रदेश सरकार बोल्दैन । संघीयतामा हाम्रो सबैभन्दा बढी स्टेक छ भन्ने दलहरू पनि बोल्दैनन् । यस्तो उदासीनताले संघीयता फस्टाउन सक्तैन ।
प्रदेशको नाममा हामीले उही पुरानै कुरा दोहोर्‍याउने अर्थात् सिंहदरबारको कपी पेस्ट मात्र गरेका छौं । संघीयता भनेको यस्तै हो भने प्रदेशको शासकीय बोझ मात्र थपिने भयो । केही व्यक्तिलाई अतिरिक्त पदमा पुर्‍याउन, सुविधा र सान दिनमै सीमित हुने हो भने किन चाहियो संघीयता ? प्रश्न स्वाभाविक रूपमै उठ्छ । कतिपयले आशंका गरेजस्तो केही वर्षको प्रयोगपछि स्वतः यसका विपक्षमा जनमत अरू प्रखर हुन्छ, संघीयता चाहियो भन्नेहरूको मुख पनि थुनिन्छ । संघीयता खारेजका लागि बलियो आधार बन्छ । सरकारी कामकाजमा दोहोरोपनका लागि मात्र हो भने संघीयता खारेज गरे पनि हुन्छ । तर मलाई लाग्दैन, संघीयता खारेज हुन्छ । पार्टीका लागि पद र सुविधा विस्तार गर्ने सजिलो माध्यम भएको छ यो । सत्ताको नयाँ भर्‍याङ मिलेको छ । यो सुविधा कम्युनिस्ट, कांग्रेस कसैले छोड्ने छैनन् । संघीयताको योभन्दा बढी साइनो कसैले चाहेजस्तो देखिन्न ।
के हाम्रो नियति नै यस्तै हो ? नियत र नियतिमा शंका नगर्ने हो भने यसलाई सच्याउन सकिन्छ, कमजोरी हटाउन सकिन्छ । धेरै ढिलो भएको छैन । संघीयताको उद्देश्य अनुरूपको मार्ग पहिल्याउन सकिन्छ । सबैभन्दा पहिले प्रदेशको नेतृत्व पनि कर्मचारीतन्त्रकै भरमा संघीयता चल्छ भन्ने मानसिकताबाट मुक्त ह्नुपर्छ । संविधानले आफूलाई दिएको अधिकार प्रयोग गर्न प्रदेश नेतृत्व ‘प्रोएक्टिभ’ हुनुपर्‍यो । संघको वा पार्टी हाइकमान्डको आदेश र निर्देशन पर्खी बस्न भएन । प्रदेश नेतृत्वमा बस्नेले पार्टीमा जोखिम मोल्न तयार रहनुपर्छ । आवश्यक पर्दा संघीय सरकारसँग वाद–प्रतिवाद गर्न सकिन्छ । त्यस्तो द्वन्द्व अनपेक्षित पनि होइन । यसको सकारात्मक निकासमै संघीय अभ्यासले गति लिन्छ ।
अर्को महत्त्वपूर्ण पक्ष हो– सत्तारूढ राजनीतिक दल । अहिले ६ वटा प्रदेश र संघमा एकै दल अर्थात् नेकपाको सरकार छ । प्रदेश २ मा पनि संघीय सरकारमा सहभागी दलको नेतृत्व छ । यो अवसर पनि हो संघ–प्रदेशबीच असल सम्बन्धको नमुना देखाउने । तर त्यो प्रदेशको हितमा देखिनुपर्‍यो । हाम्रा दलहरूचाहिँ केन्द्रीय कमान्ड संरचनामा संगठित छन्, जुन संघीयता अभ्यासका लागि चुनौती हो । दलहरूको प्रादेशिक संरचनाको विकास हुनै पाएको छैन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र राजपाले संघीयताका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्थे । तर फोरम अब फरक भइसक्यो, उसमा राष्ट्रिय पार्टी र नेतृत्वको आकांक्षा बढेको छ । प्रदेशभन्दा पनि संघीय सत्ता उसको प्राथमिकतामा देखिन्छ । राजपाले अझै आकार लिन सकेको छैन । नेकपाको केन्द्रीय कमान्डमा संघीय अभ्यास कति फस्टाउँछ, विश्वास गर्ने अन्तर्राष्ट्रिय दृष्टान्त छैन ।

Page 7
दृष्टिकोण

नमस्ते कि गुड मर्निङ ?

- मधु राई

 

युकेजीको कक्षाकोठामा प्रवेश गरेपछि म विद्यार्थीहरूलाई दुई हात जोडी अभिवादन गर्ने गर्छु । पहिले ‘नमस्ते’ वा ‘नमस्कार’ भन्ने गरेकी छु अनि ‘गुड मर्निङ’ । त्यसपछि समुदायविशेषले प्रयोग गर्ने अभिवादनका शब्द सिकाउँछु । जस्तै— मधेसीमूलका विद्यार्थीहरूलाई ‘जय महादेव’ र आफू किराती भएकाले ‘सेवारो’ पनि भन्न सिकाउँछु । त्यही सिको गर्दै बालविकास र शिशु कक्षाका कतिपय विद्यार्थीले भेटेपिच्छे मलाई हँसिलो अनुहारसाथ ‘नमस्ते म्याम’ भन्ने गरेका छन् ।
तर, बालविकास कक्षामा केही दिनमै सिकेका यस्ता शब्दहरू विद्यार्थीले निजी विद्यालयको प्राथमिक तहमा जान थालेको केही महिनामै बिर्सने गरेको मैले पाएकी छु । बाटाघाटामा भेट्दा अभिभावकहरूले आफ्ना छोराछोरीलाई ‘एइ चिनेनस् ? म्यामलाई नमस्ते गर् !’
भन्ने गर्छन् । अभिभावकको करबलले गरेको नमस्ते स्विकार्न मलाई बेलाबेला असहज महसुस हुने गर्छ ।
जुनसुकै समाजमा संस्कारयुक्त शिक्षाको कुरा गर्दा सर्वप्रथम शिष्टाचारको सन्दर्भ आउँछ । नेपाली समाजमा सिकाइने शिष्टाचारको पहिलो पाठ भनेकै नमस्ते हो । तर, शिक्षक, अभिभावक र विद्यार्थीहरू यसबारे अनभिज्ञ हुँदा साना कक्षामा सिकेका अभिवादनका शब्दहरू कतिपय विद्यार्थीले कालान्तरमा करबलमा मात्र प्रयोग गर्ने गरेका छन् । यसो हुनुमा निजी विद्यालयको अंग्रेजी वातावरण पनि एक हो भन्नेमा दुईमत छैन । प्रायः निजी विद्यालयले विद्यालय परिसरमा ‘इङ्लिस स्पिकिङ जोन’ लेखिएका सूचना टाँसेका हुन्छन् । बिर्सेर नेपाली बोले पनि जरिवाना तिराइन्छ वा सजाय दिइन्छ । नेपाली बोल्ने विद्यार्थीको हुर्मत लिने विद्यालय व्यवस्थापन र शिक्षकका कारण अभिभावादनका हाम्रा मौलिक शब्दहरू लोप हुने जोखिम बढ्दै गएको छ ।
अझ कतिपय शिक्षक र अभिभावक त शिष्टाचारबाटै अनभिज्ञ रहे जस्ता देखिने गरेका छन् । त्यस्ता व्यक्तिको अनुहार सधैं रिसाएको वा ठुस्स परेको देखिन्छ । विभिन्न अध्ययनले देखाएका छन्, अभिभावक र शिक्षकको प्रायः गुण वा विशेषता छोराछोरीमा स्वतः सर्दै जान्छ । अनि यस्ता अभिभावक र शिक्षकसँग दिनहुँ उठबस गर्ने छोराछोरी र विद्यार्थीले पनि शिष्टाचार भुल्दै जान्छन्, संवेदनहीन
बन्दै जान्छन् ।
औपचारिक शिक्षालाई मानिसको जनजीवनसँग जोड्न शिष्टाचारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । ससाना विद्यार्थीले दुवै हात जोडी अनुहार हँसिलो बनाई ‘नमस्ते म्याम’ भन्दा र हामीले पनि सोही मुद्रामा अभिवादन फर्काउँदा शिक्षक–विद्यार्थीकै मन फुरुङ्ग हुने गर्छ ।
यसबाट शिक्षक–विद्यार्थी सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्छ । दुवैमा सकारात्मक ऊर्जा थपिन्छ । दुवैबीच अपनत्व बढ्छ । सिक्ने र सिकाउनेबीच राम्रो सम्बन्ध स्थापित भए मात्र शिक्षण सिकाइ प्रभावकारी हुन्छ भन्ने अध्ययन–अनुसन्धानले देखाएका छन् ।
औपचारिक शिक्षाका प्रारम्भिक वर्षहरूमा विद्यालयमा अभिवादन दर्शाउने शब्द सिकाउन सके शिक्षणसिकाइ रमाइलो र प्रभावकारी हुन्छ भन्ने विकसित मुलुकको अभ्यासले देखाउँछ ।
हामीकहाँ पनि यस्तो चलन सुरु गर्नु जरुरी छ । बालबालिकालाई अभिभावकले घरमा र शिक्षकले विद्यालयमा अभिवादनको महत्त्व बुझाउन सके त्यो संस्कारयुक्त शिक्षणसिकाइको प्रवेशविन्दु हुन सक्छ । तर, यसका लागि अभिभावक र शिक्षकले पहिले अभिवादनलाई आत्मसात् गर्नुपर्छ ।

दृष्टिकोण

अनुदानमा चित्तदुखाइ

- डा. खिमलाल देवकोटा

 

केही साताअगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा प्रदेशस्तरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारले स्थानीय र प्रदेशलाई थोरै अनुदान दिएको लगायतका गुनासो प्रदेश र स्थानीय तहका पदाधिकारीले गरे । यस्तै टिप्पणी गत भदौमा बसेको अन्तरसरकारी वित्त परिषद्को बैठकमा समेत गरिएको थियो । अनुदान वितरण न्यायोचित नभएको धारणा उनीहरूको थियो । अन्तरप्रदेश परिषद्् बैठकमा कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले समेत यस्तै गुनासो गरेका थिए । विशेष गरी प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरूको बढी गुनासो अनुदान वितरण लगायतमा छ ।
कानुनतः अनुदानको सीमा निर्धारण अर्थ मन्त्रालयले गर्छ भने वितरण प्रक्रियालाई न्यायोचित गर्ने काम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गर्छ । संविधानतः प्रदेश र स्थानीय तहले नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान पाउँछन् । यस अलावा राजस्व बाँडफाँट र प्राकृतिक साधन र स्रोतबाट प्राप्त रोयल्टीको रकमसमेत उनीहरूले प्राप्त गर्ने गरेका छन् । विशेष अनुदान र समपूरक अनुदान बाँडफाँटमा आयोगको खासै भूमिका हुँदैन । तर अन्य अनुदान लगायतको वितरणमा आयोगको भूमिका महत्त्वपूर्ण हुन्छ । मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट प्राप्त हुने राजस्व बाँडफाँटको विभाजनको सीमा
(रकम) र आधार अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमा छ । प्राकृतिक साधन र स्रोतबाट प्राप्त हुने रोयल्टी बाँडफाँटको आधार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेअनुसार हुन्छ । मूल्य अभिवृद्धि कर र अन्तःशुल्कजस्ता बाँडफाँट हुने रकमको सीमासमेत वित्त व्यवस्थापन ऐनमा छ ।
विशेष अनुदान र समपूरक अनुदानको रकम न्यून छ । विभिन्न सर्त लगायतका कारण यी दुवै अनुदानमा प्रदेश र स्थानीय तहको खासै चासो छैन । कार्यक्रम तथा आयोजनाहरू तोकिएर जाने र आफूअनुकूल खर्च गर्न नपाउने हुँदा ससर्त अनुदानमा पनि प्रदेश र स्थानीय तहको रुचि देखिँदैन । खासगरी स्थानीय तह र प्रदेशले गर्ने गुनासो वित्तीय समानीकरण अनुदानसँग सम्बन्धित छ ।
प्रदेश २ मा अवस्थित वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा रु. ४४ करोड १४ लाख वित्तीय समानीकरण अनुदान प्राप्त गरेको छ । जुन कुल वित्तीय समानीकरण अनुदान रु. ८९ अर्ब ९४ करोडको करिब ०.५ प्रतिशत हो । जनसंख्यालाई आधार मान्ने हो भने वीरगन्ज महानगरपालिका मुलुकका ७५३ स्थानीय तह (गाउँपालिका र नगरपालिका) मध्ये पाँचौं ठूलोमा पर्छ । वीरगन्जभन्दा ठूला स्थानीय तहमा क्रमशः काठमाडौं, पोखरा–लेखनाथ, ललितपुर र भरतपुर हुन् । स्थानीय तहको कुल जनसंख्यामा काठमाडौं महानगरपालिकाको भार ३.७२ प्रतिशत छ भने वीरगन्ज महानगरको ०.९२ प्रतिशत छ । काठमाडौं महानगरपालिकाले वित्तीय समानीकरण अनुदान रु. ७५ करोड २१ लाख प्राप्त गरेको छ । जुन कुल वित्तीय समानीकरण अनुदानको ०.८४ प्रतिशत हो । वित्तीय समानीकरण अनुदानलाई जनसंख्यासँग तुलना गर्ने हो भने वीरगन्ज महानगरपालिकाले ०.४३ प्रतिशतले कम अनुदान प्राप्त गरेको छ । तर काठमाडौं महानगरपालिकाले भने जनसंख्याभन्दा निकै नै कम २.८८ प्रतिशतले कम प्राप्त गरेको छ । पोखरा–लेखनाथ, ललितपुर र भरतपुरले जनसंख्याभन्दा क्रमशः ०.९१ प्रतिशत, ०.५६ प्रतिशत र ०.५४ प्रतिशतले कम अनुदान पाएका छन् ।
प्रदेशलाई बाँडफाँट गरिएको कुल रु. ५५ अर्ब २९ करोड वित्तीय समानीकरण अनुदानमा सुदूरपश्चिम प्रदेशले रु. ७ अर्ब ९५ करोड प्राप्त गरेको छ । प्रदेश ३ को यो अनुदान रु. ७ अर्ब ५९ करोड छ । कर्णाली प्रदेशले सबभन्दा धेरै रु. ९ अर्ब ९४ करोड प्राप्त गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशभन्दा प्रदेश ३ को जनसंख्या क्रमशः सवा गुणा र साढे दुई गुणाभन्दा धेरै छ । तर यी प्रदेशले तुलनात्मक रूपमा अन्य प्रदेशको भन्दा धेरै अनुदान प्राप्त गरेका छन् ।
जनसंख्यासँगको यो सामान्य विश्लेषणका आधारमा भन्ने हो भने वीरगन्ज महानगरपालिका र कर्णाली तथा सुदूरपश्चिम प्रदेशले प्राप्त गरेको अनुदान बाँडफाँटमा गुनासो गर्ने ठाउँ छैन । तर जनसंख्या धेरै र मानव विकास सूचकांक लगायतको अवस्थामा कमजोर हुँदा पनि प्रदेश २ ले वित्तीय समानीकरण अनुदान सबभन्दा कम प्राप्त गरेको छ । वीरगन्ज महानगरपालिका र अन्य प्रदेशको सन्दर्भमा वित्तीय समानीकरण अनुदान बाँडफाँट न्यायोचित देखिए पनि प्रदेश २ का सन्दर्भमा त्यति वैज्ञानिक देखिँदैन । यस सम्बन्धमा आयोगको ध्यान जान जरुरी छ ।
वित्तीय समानीकरण अनुदान बाँडफाँट गर्दा मानव विकास, पूर्वाधार विकास, राजस्वको क्षमता, खर्चको आवश्यकता लगायतका आधारमा गर्नुपर्ने कानुनी बाध्यता छ । केही अपवादलाई छाड्ने हो भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान बाँडफाँटलाई सन्तुलित गर्ने प्रयास गरेको देखिन्छ । संविधानतः यस अनुदान बाँडफाँटमा वास्तविक खर्चको आवश्यकता र राजस्व क्षमतालाई आबद्ध गर्नुपर्ने हुन्छ । यस सम्बन्धमा आयोगको ध्यान गएको पाइएको छ । सम्भवतः आगामी वर्षदेखि यो पक्षलाई पनि आधार मानिनेछ ।
साविक एकात्मक व्यवस्थामा पनि स्थानीय निकायले प्राप्त गर्ने निःसर्त अनुदानलाई जनसांख्यिक विवरण, भौगोलिक क्षेत्रफल, मानव विकास सूचकांक, लागत सूचक लगायतका आधारमा सन्तुलित गर्ने अभ्यास थियो । संविधानमा निःसर्त अनुदान भन्ने शब्दावली छैन । तर पनि वित्तीय समानीकरण अनुदानलाई व्यावहारिक रूपमा निःसर्त अनुदानका रूपमा परिभाषित गर्ने गरिएको छ ।
तल्ला संघीय इकाहरूले वित्तीय स्रोत र साधन के कति प्राप्त गर्ने भन्ने कुरा संविधानद्वारा प्रदत्त कार्यजिम्मेवारी र संघीय बजेटको आकारले निर्धारण गर्छ । बजेटको आकार ठूलो भयो भने अनुदानको आकार पनि ठूलो हुन्छ । प्रदेश र स्थानीय तहले पनि त्यही अनुपातमा धेरै अनुदान प्राप्त गर्छन् । संविधानतः प्रदेश र स्थानीय तहले धेरै जिम्मेवारी प्राप्त गरेका छन् । जिम्मेवारी अनुसार अनुदानको अपेक्षा गर्नुलाई अन्यथा रूपमा लिनु हुँदैन । चालु आर्थिक वर्षको बजेटको हिस्सालाई विश्लेषण गर्ने हो भने प्रदेश र स्थानीय तहले सुविधाजनक अनुदान लगायतको वित्तीय स्रोत प्राप्त गरेको देखिन्छ । कुल बजेटको करिब एकतिहाइ हिस्सा प्रदेश र स्थानीय तहले वित्तीय हस्तान्तरणका रूपमा प्राप्त गरेका छन् । बजेटको अधिकांश हिस्सा ऋणको साँवा–ब्याज भुक्तानी (सेयर लगानीसहित), सुरक्षा, परराष्ट्र, सामाजिक सुरक्षा, कर्मचारीको निवृत्तिभरण, संवैधानिक आयोग, राष्ट्रिय गौरवका आयोजना आदिसँग सम्बन्धित आयोजना तथा कार्यक्रमहरूका लागि खर्च हुन्छ । राष्ट्रिय योजना आयोगको एक प्रतिवेदनअनुसार कुल बजेट विनियोजनमा राष्ट्रिय गौरवका आयोजनाका लागि करिब १० प्रतिशत र निश्चित कार्यक्षेत्र तोकिएका कार्यक्रमका लागि पाँचदेखि सात प्रतिशत बजेट वितरण हुने गर्छ । यस अलावा केन्द्रीय मन्त्रालय र निकायका लागि पनि त्यत्तिकै बजेट विनियोजन हुन्छ । यस वास्तविकतालाई आकलन गर्दा पनि २०७६/७७ मा प्रदेश र स्थानीय तहले कुल बजेटको करिब ३१ प्रतिशत हिस्सा प्राप्त गरेका छन् । यो हस्तान्तरण कुल प्रक्षेपित राजस्व रु. ९८१ अर्बको करिब ४८ प्रतिशत हो ।
प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणलाई कुल राजस्व संकलनसँग मापन गरिन्छ । राजस्व संकलन वृद्धिका अनुपातमा वित्तीय हस्तान्तरण पनि बढ्दै जान्छ । १४ औं वित्तीय आयोगको सिफारिसअनुसार भारतले सन् २०१५ देखि २०२० सम्मका लागि केन्द्रको कुल राजस्व संकलनको ४२ प्रतिशत राज्य सरकारलाई वितरण गर्ने गरेको छ । यसको सीमा सन् २००५ देखि २०१० सम्म ३० प्रतिशत र सन् २०१० देखि २०१५ सम्म ३२ प्रतिशत थियो । संघीय मुलुकमा सबभन्दा बढी वित्तीय हस्तान्तरण क्यानाडाले गर्छ । उसले कुल राजस्वको ४९ प्रतिशसम्म वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तहलाई गर्ने गरेको छ । यसपछि स्विट्जरल्यान्डको ३९ प्रतिशत छ । अमेरिकाले ३७ प्रतिशत र जर्मनीले २९ प्रतिशत वित्तीय हस्तान्तरण गर्ने गरेका छन् । नेपालले छोटो समयमा गरेको वित्तीय हस्तान्तरणलाई सराहनीय मान्नुपर्छ । संविधानप्रदत्त खर्च जिम्मेवारीलाई आधार मान्ने हो भने संघीय बजेट/राजस्वको ठूलो हिस्सा प्रदेश र स्थानीय तहमा जान सक्ने सम्भावना अझै छ । सुरुवाती चरणको विश्लेषण गर्दा संघीय सरकारले प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणमा कन्जुस्याइँ गरेको देखिँदैन । आगामी दिनमा यस हस्तान्तरणमा क्रमशः बढोत्तरी हुने सम्भावना पनि छ । वित्तीय हस्तान्तरणको रकम कम भयो भन्नुभन्दा पनि प्राप्त अनुदानको सही सदुपयोगका लागि प्रदेश र स्थानीय तह लाग्नु जरुरी छ । यसै गरी आफ्नो राजस्वको दायरालाई फराकिलो पारी संविधान अनुकूलको दक्ष र प्रभावकारी सेवा प्रवाह लगायतमा ध्यान दिनुसमेत आवश्यक छ ।

[email protected]

दृष्टिकोण

कृषि–प्रविधिमैत्री पर्व

- कमल रिजाल

 

कृषि–प्रविधिमैत्री पर्व हो तिहार । कृषिसित सम्बन्धित प्रशस्तै कृत्य सम्पन्न हुन्छन् यस पर्वमा । प्रागैतिहासिक कालमै सुरु भएको कृषि युग । फिरन्ते जीवन व्यतीत गर्दै आएको मानव झुन्डले जति बेला सामाजिक स्वरूप लिन थालेका थिए त्यति बेलादेखि नै जीवन यापनको साधन बनाएका हुन् कृषिलाई । संसारकै प्राचीनतम ग्रन्थ ऋग्वेदमै चर्चा भेटिन्छन् यसबारे । ऋग्वेदकालीन मानिस कोही पशुपालन गर्थे, कोही खेती किसानीमा लागेका थिए, कोही धागो कात्ने, कपडा बुन्ने गर्थे, कोही कुटानी पिसानीका साधन, ढिकी, जाँतो, ओखल मसल निर्माण गर्थे । ऋग्वेदमा पशु, पक्षीलाई देवता मानिएको मन्त्र पनि छन्, ओखल तथा मुसललाई देवता मानिएको मन्त्र पनि छन् । धागो तथा चर्खालाई देवता मानिएको मन्त्र छन् प्रकृति र पर्यावरणलाई देवता मानिएको मन्त्र पनि छन् । यिनै खेती किसानीसित सम्बन्धित शक्ति र समूहलाई सम्मान प्रकट गर्न सिकाएको छ तिहार पर्वले । यसैलार्ई केलाउने प्रयास गरिएको छ यस आलेखमा ।
जस्तो हामीलाई थाहा छ तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिन कागलाई बोलाएर खान दिने गरिन्छ । हिजोआज काग सम्मेलन गर्ने गरिएको पनि पाइन्छ कतैकतै । यहाँनेर काग भनेको काग मात्र नभई समग्र पक्षी समुदायको नाम हो भन्ने बुझ्नुपर्ने हुन्छ । उनीहरूको प्रतिनिधिको रूपमा लिइएको छ कागलाई । चराहरू सदैव मानवमैत्री रहँदै आएका छन् । चाहे कृषि बालीको संरक्षण गर्ने मामिलामा होस् चाहे कृषि फसल लगाउने र भित्र्याउने मामिलामा, सदैव मानव हितमा समर्पित हुँदै आएका छन् उनीहरू । कुखुरा समयसूचक पक्षी हो । यसलाई घडीको रूपमा लिन्थे प्राचीन कालीन मानिसहरू । कागलाई सन्देशवाहक पक्षी मानिएको छ । अहिले पनि काग कराउँदा कुनै सन्देश दिएको मान्यता राख्ने थुप्रै छन् गाउँघरमा । परेवालाई व्यावहारिक प्रयोगमै ल्याइएको इतिहास छ ।
वेदले चराहरू देवता तथा ऋषिसमान जस्तै ज्ञानी, गुणी, परहित र परोपकारमा समर्पित हुन्छन् भन्ने सन्देश दिएको छ । उनीहरूसम्बन्धी केही सूक्त समेत भेटिएका छन् वेदमा । ऋग्वेद दोस्रो मण्डलको ४२ औं र ४३ औं सूक्तलाई शकुन्त सूक्त भनिन्छ । शकुन्त भनेको चराहरूकै अर्को नाम हो । यी सूक्तका मन्त्रहरूले मानव जीवनमा चराको देनबारे राम्रै प्रस्ट्याउने काम गरेका छन् । त्यस्तै ऋग्वेद दसौं मण्डलको १६५ र १७८ औं सूक्तलाई क्रमशः पारावत सूक्त र तारक्ष सूक्त भनिएको छ । पारावत भनेका परेवा र तारक्ष भनेका गरुण प्रजातिका पक्षी हुन् । यी सूक्तका आशय पनि यस्तै यस्तै रहेका छन् । तिहार तिनै पक्षी समुदायप्रति सम्मान गर्न सिकाउने पर्व हो । जसरी चराहरू मानव हितमा समर्पित हुँदै आएका छन्, त्यसैगरी मानव व्यवहार पनि उनीहरू मैत्री हुनुपर्छ भन्ने सन्देश दिएको छ यस पर्वले ।
तिहार पर्वको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । कुकुरलाई फूलमालाले पूजा गरी मीठो मीठो खान दिएर यो पर्व मनाइन्छ । कुकुर भनेका वफादार प्रहरी हुन् मानव जातिका । स्वामीभक्तिको अनुपम नमुना नै मानिन्छन् यी प्राणी । घ्राणशक्ति प्रचुर मात्रामा रहेको हुन्छ कुकुरमा । मानिसमा भन्दा उनीहरूमा कैयौं गुणा बढी सुँघ्ने शक्ति हुन्छ भन्छन् प्राणीशास्त्रीहरू । ठूलठूला आपराधिक घटना पत्ता लगाउन कुकुरको प्रयोग गर्ने गरिएको पाइन्छ हिजोआज । कसैलाई होच्याउनु पर्दा कुकुरको उपमा दिन्छन् कतिपय मानिस, तर यो मानिसको नभई कुकुरको अपमान हो भन्ने बिर्सन हुन्न । मानिसकै भाषा नबुझ्ने मानव समाजले कुकुरको भाषा कति बुझ्छन्, बुझ्दैनन् छुट्टै कुरा हो, तर कुकुरले भने उनीहरूको भाषा मात्र होइन मानिसको भाषा पनि बुझ्छन्, बुझेका हुन्छन् । मानिसलाई कुकुरसँग तुलना गर्दा मानिसको अपमान हुन्छ कि कुकुरको, सोझै अनुमान लगाउन सकिन्छ ।
कुकुरको चर्चा वेदमा पनि भएको छ, इतिहास र पुराणमा पनि । राजा रामको सहयोगमा पनि पुगेका छन्, महाराज युधिष्ठिरको सहयोगमा पनि उभिएका छन् यी प्राणी । कुकुरले देवराज इन्द्रको दूत बनेर सहयोग गरेको प्रसङ्ग आएको छ ऋग्वेदमा । ऋग्वेद दसौं मण्डलको १०८ औं सूक्तको देवता सरमा नामक कुकुर्नी हो । देवराज इन्द्रको दूत बनेर स्वयं देवताहरूले समेत गर्न नसकेको काम गरेकी छे उसले । यतिबेला गरिने कुकुरको पूजाले उनीहरूबाट मानव हितमा जेजति काम भएका छन् त्यति नै मानिसको व्यवहार पनि कुकुरमैत्री हुनुपर्छ भन्ने सन्देश दिएको छ ।
तिहारको तेस्रो दिन साँझ दीपावली गरी लक्ष्मी पूजा गर्ने चलन छ । घर–आँगन सफा तथा शुद्ध पारी उज्यालो बनाएर सर्वत्र हर्ष र उमङ्गका साथ यो पर्व मनाइन्छ । लक्ष्मीलाई फोहर तथा आलस्य र आपसी झैझगडा मन पर्दर्नै । जहाँ यस्तो वातावरण हुन्छ त्यहाँ लक्ष्मी आउँदिनन् भन्ने पौराणिक कथन छ । अल्छी र आलस्यको अवस्था पनि त्यस्तै छ । यस्तो स्थानमा न उनी आउँछिन् न बस्न रुचाउँछिन् । लक्ष्मीको वाहनले पनि यही अर्थ दिएको छ । उनको वाहन लाटोकोसेरो हो । यो प्राणी उज्यालोमा देख्न सक्दैन तर अन्धकारमा भने देख्न पनि सक्छ, सुन्न पनि सक्छ । यसको अर्थ हो— माता लक्ष्मीले त्यस्तै प्राणीलाई मन पराउँछिन् जो आफ्नै खुट्टामा उभिन सकेको छ । बैसाखीको आडमा जो पनि उभिन र हिँड्न सक्छन् तर प्रगति र उन्नति त्यसैले गर्छ, जसले आफ्नै क्षमतामा उभिन, हिँड्न, देख्न र सुन्न सकेको हुन्छ । उनले लाटोकोसेरोलाई वाहन बनाउनुको अर्थ यही हो । लक्ष्मीलाई पाउन उनलाई मन पर्ने व्यवहार गर्नुपर्छ । यो भनेको आपसी मेलमिलाप, सरसफाइ, सहयोग र उज्यालो नै हो । उज्यालोको अर्थ घर–आँगन मात्र होइन मन पनि हो । बुद्धि, विचार र व्यवहार पनि हो । जति घर–आँगन उज्यालो हुनुपर्छ त्योभन्दा बढी मन, बुद्धि, विचार र व्यवहार उज्यालो हुनुपर्छ । यतिबेला गरिने दीपावली र लक्ष्मीपूजा प्रकरणले यही अर्थ दिएको छ ।
तिहार पर्वको चौथो दिन गाई, गोरु र गोबर्धन पर्वतको पूजा गरिन्छ । यो भनेको विशुद्ध रूपमा कृषि प्रविधिसित सम्बन्धित प्रक्रिया हो । कृषिका लागि गाई पनि चाहिन्छ गोरु पनि चाहिन्छ । रूख, बिरुवा वनस्पति वा वन, जङ्गल पनि चाहिन्छ । वेदमा गाई, गोरु, कृषि तथा वनस्पति सम्बन्धी दर्जनौं सूक्त छन्, जसले उनीहरूलाई देवता मानेर सम्मान गर्न सिकाएका छन् । अथर्ववेदको तेस्रो काण्डको १४ औं सूक्तलाई गोष्ठ सूक्त, १७ औं सूक्तलाई कृषि सूक्त, १८ औं सूक्तलाई वनस्पति सूक्त तथा चौथो काण्डको ११ सूक्तलाई वृषभ सूक्त, २१ औं सूक्तलाई गो सूक्त र सातौं काण्डको ६० औं सूक्तलाई अन्न सूक्त भनिन्छ । गाई तथा बाच्छाको विशेषता वर्णन गरिएको केही प्रसङ्ग ऋग्वेद र यजुर्वेदमा पनि आएको छ । ऋग्वेद ८।१०१।१५ र यजुर्वेद २३।४८ यसैसित सम्बन्धित छन् । यसबाहेक वेदले पहाड पर्वतलाई समेत देवता मानेको छ । ऋग्वेद तृतीय मण्डलको ५३ औं सूक्त यसैको उदाहरण हो । त्यस्तै दसौं मण्डलको १४६ औं सूक्तलाई अरण्य सूक्त भनिन्छ । अरण्य भनेको वन, जङ्गल नै हो । यस सूक्तले जङ्गल तथा वनस्पतिलाई पनि देवता मानेको छ । त्यसैले गाई, गोरु तथा गोबर्धन पर्वतको पूजा गर्नु भनेको मानिसको व्यवहार उनीहरूमैत्री हुनुपर्छ भन्ने नै हो ।
तिहार पर्वको पाँचौं दिनलाई भाइ तिहार भनिन्छ । यस दिन यमराज, यमुना तथा दाजुभाइ र दिदी–बहिनीको पूजा गर्ने गरिन्छ । वास्तवमा यो भनेको प्रेम र सद्भावको आदान प्रदान हो । यति बेला दिदी–बहिनीले यमराज र यमुनाको पूजा गरी दाजुभाइको दीर्घ जीवनको कामना गर्छन् । दाजुभाइले दिदी–बहिनीलाई पूजा र सम्मानका साथमा यथोचित उपहार दिएर प्रेम र सद्भाव प्रकट गर्छन् । ऋग्वेद दसौं मण्डलको १४ औं सूक्तलाई यम सूक्त भनिन्छ । यस सूक्तले यमराजलाई काल (समय) का मालिक भन्दै सबैले एक दिन उनको ढोकामा जानैपर्छ तर यमराजलाई खसी पार्न सके उनको ढोकामा जानुपर्ने समय केही पर धकेल्न सकिन्छ भन्ने अर्थ दिएको छ । यसै मण्डलको १५४ औं सूक्त उनकै बहिनी यमुनासित सम्बन्धित छ । यस सूक्तमा यमुनाले यमपासमा बाँधिएको जीवलाई कसरी मुक्त गराउन सकिन्छ भन्ने चिन्तन गरेकी छन् । यस्तै यस्तै विशेषताले गर्दा तिहार हाम्रो विशिष्टतम् पर्व हुन पुगेको छ ।

Page 8
कला र शैली

सम्झनामा महाकवि

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– न्वारनको नाम तिर्थमाधव देवकोटा । तिहार लक्ष्मीपूजाको दिन जन्मिएकाले पछि उनी लक्ष्मीप्रसादकै नामबाट चिनिए । नेपाली भाषा–साहित्यका महाकवि भए । उनै देवकोटाको सम्झनामा शुक्रबार राजधानीमा विमर्श तथा काव्यसभा गरियो । देवकोटाको १११ औं जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा देवकोटाद्वारा लिखित कवितासँगै उनको व्यक्तित्व र साहित्यिक योगदानको चर्चा गरिएको हो ।
नेपाली साहित्यको अन्तर्राष्ट्रिय– करणदेखि स्वछन्दवादसम्मको प्रवर्द्धनमा योगदान पुर्‍याएका देवकोटाको सम्मानमा ‘महाकवि संग्रहालय’ बन्न लागेको जनाउँदै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अब छिट्टै निर्माण प्रक्रिया थालिने बताए । प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले महाकवि देवकोटाले महाकाव्य, खण्डकाव्य, कविता र निबन्ध क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताए । साहित्यकार डा. दुर्गा अर्यालले देवकोटामाथि विद्वत् प्रवचन दिँदै देवकोटालाई कल्पनाको सम्राट्, स्वतस्फूर्त साहित्य सिर्जना गर्ने सर्वोच्च र चेतनशील व्यक्तित्व र चिन्तनशील आधुनिक कविका रूपमा व्याख्या गरे । विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएर २०१६ भदौ २९ दिवंगत भएका देवकोटाका ‘मुनामदन’, ‘कुञ्जिनी’, ‘शाकुन्तलम’, ‘सुलोचना’, लगायतका कृति चर्चित छन् । कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्याय, काव्य विभाग प्रमुख तथा प्राज्ञ प्रा.डा. हेमनाथ खतिवडा, प्राज्ञ देवी नेपाल लगायतले देवकोटाको योगदानको परिचर्चा गरे ।
प्राज्ञ नेपाल र गायिका लोचन भट्टराईले देवकोटाले कविता, निबन्ध, आख्यान, नाटकजस्ता चारैवटा विधामा योगदान पुर्‍याएको स्मरण गर्दै उनीद्वारा नै रचित कविता सुनाए । कवि वासुदेव अधिकारी, भुवनहरि सिग्देल, टीका चाम्लिङ, रञ्जु दाहाल, शोभा दुलाल, जितेन्द्र श्रेष्ठलगायतले कविता सुनाए ।

कला र शैली

निष्ठुरीलाई माया गरी... पछुताए मुरलीधर

- सुशील पौडेल

(काठमाडौं) - मुरलीधर यतिबेला स्वदेशमा छन् । एक फिल्म अवार्डका लागि काठमाडौं आएका उनी दसैं मनाउन सिरहाको औरही गाउँपालिकास्थित घर पुगे, ठुल्दाइको हातको टीका लगाउन । मुरलीधर दुई छोरा र पत्नीसहित मुम्बई बस्दै आएका छन् । उनी धेरैपटक नेपाल फर्कन खोजे तर सकेनन् ।
‘दायित्वले मान्छेलाई बाध्य बनाउने रहेछ । जेठो छोरा जन्मेपछि फर्कौं भनेको थिएँ । तर श्रीमतीले मानिनन् । पहिलो बच्चा अप्रेसनबाट जन्मेको थियो । कान्छो छोरो पेटमा थियो । यस्तो अवस्थामा गाउँमा गएर बच्चा जन्माउनु झन् जोखिम हुन सक्छ भनिन् । ठिकैजस्तो लाग्यो । पछि पनि फेरि फर्कन खोजें । श्रीमतीले फेरि बच्चाहरूको पढाइ सकेपछि जाऊला भनिन् । ठिकै हो जस्तो लाग्यो ।’ यतिबेला कान्छो छोराले पनि स्नातक उत्तीर्ण गर्दै छन् । मुरली दायित्वबोधबाट मुक्त हुँदै छन् । भन्छन्, ‘स्वदेश फर्किने कतिचोटि योजना बनाएँ । तर फेल भयो । अब त दायित्वबाट मुक्त भएको छु । बच्चाहरूको पढाइ सकियो । अब यतै फर्किने हो ।’ मुरलीधर गायक, संगीतकार र गीतकार मात्र हैनन्, कलाकार, निर्देशक र निर्माता पनि हुन् । नागरिकतामा मुरली मिझार भए पनि मुरलीधरबाटै आफूलाई चिनाएका उनी स्वदेश फर्किएर नेपाली गीत, संगीत र फिल्म क्षेत्रमा काम गर्न चाहन्छन् । ‘मैले जानेको नै यही दुई चिज हुन्, गाउन र अभिनय । यता आएर शास्त्रीय संगीतको एकेडेमी खोल्न मन छ ।’
कान्छो छोरा जन्मेकै वर्ष मुरलीधरको फिल्मी करिअरले गति लियो । ‘जुन दिन कान्छो जन्मियो, त्यही दिन मैथिली फिल्म ‘सस्ता जिनगी महग सिनूर’ साइन गरें । आधा लगानी समेत गरें । पछि फिल्म सुपर डुपर हिट भईदियो ।’ त्यसपछि मुरलीधरको हिम्मत अलिक बढ्यो । नेपाल फर्किने सपना थाँती नै राखेर संघर्ष अझ बढाए । निर्देशन पनि सुरु गरे । तर फेरि जस्ताको तस्तै । ‘कति प्रोजेक्टका निर्माता भागिदिए । कति अड्किए’ बल्खुस्थित आफ्नै बहिनी उर्मिलाको घरमा गफिँदै उनले भने, ‘यतिबेला फेरि एउटा मैथिली फिल्म पाइपलाइनमा छ । निर्माताहरू भेट्न नेपाल नै आएका छन् ।’ मुरलीधर भने अब फर्केर नेपाली फिल्म निर्देशन तथा अभिनय गर्न चाहन्छन् । ‘तर निर्माता पाइरहेको छैन । यो मेरा लागि ड्रिम प्रोजेक्ट पनि हो । यस्तो खालको फिल्म भारतमा समेत बनेको छैन,’ उनी नेपालकै घटनाक्रमलाई लिएर व्यंग्यात्मक हास्य प्रस्तुति र प्रेमकथालाई संयोजन गरी फिल्म बनाउन चाहन्छन् । यसका लागि उनले स्क्रिप्टसमेत तयार पारिसकेको बताए । ‘मेरा फिल्म वा रचना चार तत्त्व प्रेम, युद्ध, अपराध र शंकामा आधारित हुन्छ । संसारदेखि गीत, संगीत, साहित्य, फिल्म सबै सृजना यही चार खम्बामा अडिएको हुन्छ’, उनको मान्यता छ । धेरै विधामा हात हाले पनि मुरलीधरलाई गायन बढी प्रिय लाग्छ । उनी संगीतलाई आफ्नो विरासत भन्न रुचाउँछन् । उनका बुबा नथुनी संगीतज्ञ नै थिए ।
‘मेरा दुई छोराहरू पनि सुरिला छन् । बाबुआमाको संघर्ष देखेर हो वा किन हो, उनीहरूले यसलाई करिअर बनाउन चाहेनन् । सोखका लागि मात्रै गाउँछन्,’ मुरलीधरले थोरै गुनासो पोखिहाले ।
२०४२ साल फागुनमा रिलिज फिल्म ‘सम्झना’ बाट फिल्म क्षेत्रमा कलाकारका रूपमा होमिनुअघि नै मुरलीधर गाउँघरमा नौटंकी गर्दै हिँड्थे । फिल्ममा आएपछि भने उनी खलपात्रमा ख्याति कमाए । तर जति ख्याति कमाए पनि आखिर खलपात्र खलपात्र नै हुँदो रहेछ । मुरलीधरको अनुभव यस्तै छ । भन्छन्, ‘विडम्बना नै यही छ । मान्छेले सुन्दर, रमाइलो र हरियाली मात्र देख्न रुचाउँछ । सामन्त, खराब प्रवृत्ति भएको मान्छेलाई फिल्ममै पनि देख्न रुचाउँदैनन् ।’ खलपात्र निर्वाह गर्दाका उनीसँग थुप्रै रमाइला किस्सा छन् । ‘बिग बजेट फिल्म ‘मासुका’ मा मुख्य भिलेनमा थिएँ । त्यो फिल्म आमाले हेर्नुभएछ । हिरोले मलाई खोलामा झ्याँक्दै पिटेको देखेपछि आमा बेहोस हुनुभएछ । पछि फोन गरेर ‘बाबु यस्तो रोल नगर । रोल गर्दै नगर । त्यस्तो मीठो गाउँछस्, बरु गीत नै गा । किन यस्तो नाटक गर्नुपर्‍यो ? नगर’ भन्नुभयो । मैले हस् भनिदिएँ,’ मुरलीधरले हाँस्दै भने, ‘तर मैले मानिनँ । त्यसपछि उहाँले पनि कहिल्यै मेरा फिल्म हेर्नुभएन ।’
तैपनि उनी खलपात्रकै भूमिका किन गरिरहन्छन् त ? मुरलीधर भन्छन्, ‘म खोलाको पानीजस्तै हो । जसले जुन रोलमा बगाउन चाहन्छ, म त्यसैगरी बगिदिन्छु । तर अब भिलेन चरित्र धेरै भयो कि जस्तो लाग्न थालेको छ । सकारात्मक चरित्रमा पनि खेल्न चाहेको छु । तर के गर्ने ? प्रस्ताव भिलेनमै आउँछ । पर्दामा डरलाग्दो देखिने मुरलीधर वास्तविकतामा मिजासिला र रमाइला छन्, चरित्रभन्दा ठीक विपरीत । भिलेनको चरित्र निर्वाह गर्नु अत्यन्तै कठिन काम ठान्ने उनी त्यस्तो चरित्रलाई दिमागमा हालेर त्यसको हाउभाउ, बोल्ने, लगाउने, खाने शैली, उठबसको तरिका कसैबाट लिएर उतार्नु चुनौतीपूर्ण हुने बताउँछन् । मुरलीधर यतिबेला एउटा तनावमा देखिए । उनको रचना, संगीत र गायन रहेको गीत ‘निष्ठुरीलाई माया गरी...’ अर्का गायक राजेशपायल राईले ‘बिनाअनुमति’ रेकर्ड गराइदिएपछि चिन्तित देखिए । कुनै बेला राजेशपायलले भेटका क्रममा गीत राम्रो लागेकाले आफूले पनि गाउन चाहेको बताएपछि मुरलीधरले हुन्छ नि त गाऊ भनेका रहेछन् । ‘त्यो बेला मलाई के थाहा, उनले रेकर्ड नै गर्छन् भनेर,’ मुरलीधरले त्यसपछि पनि राजेशपायललाई उक्त गीत हटाउन धेरैपटक अनुरोध गरेको र उनले पनि हटाउँछु भनेर लामो समयदेखि झुलाएको बताए । भने, ‘गीत हटाउनुको सट्टा राजेश भाइले कहिले सिंगापुर, कहिले हङकङ कन्सर्टका लागि लग्छु भनेर लोभ्याउन खोजे । मैले पहिलो सर्त नै गीत हटाउन भनिरहें । मानेनन् ।’ केहीअघि नेपाल आइडलमा समेत राजेशपायलले सोही गीत गाउँदा आफ्नो नामसमेत नलिएपछि मुरलीधरले दिक्क माने । ‘संगीतको त्यत्रो कार्यक्रममा उनले मेरो नाम त लिन्छन् होला भन्ने लागेको थियो । न उनले नाम लिए, न त स्क्रिनमा मेरो नाम नै दिइयो,’ अझ उदेक त मुरलीधरलाई त्यतिबेला लागेछ, जब सोही गीत उनले एक कन्सर्टमा गाउँदा कसैले सुनाएछ, ‘यो गीत त राजेशपायलको हो नि । तर दाइले कस्तो मीठोसँग गाइदिनुभयो ।’ उनले धन्यवाद मात्रै भन्न सके रे । ‘तर त्यो कुराले मेरो मनमा कस्तो पीर पर्‍यो होला ? एउटी आमाले नौ महिनासम्म गर्भमा राखेर प्रसव गरेर जन्माइहुर्काई ठूलो बनाएको सन्तानलाई अरूले यो फलानोको सन्तान हो भनेर चिन्दै चिनेन भने, आमालाई कस्तो पीर पर्ला ? मलाई त्यस्तै भयो । अब म राजेशलाई के गरुँ ?’ यतिबेला उक्त प्रश्नको उपचार खोजीमा छन् मुरलीधर ।
‘निष्ठुरीलाई माया गरी...’, ‘उडायो सपना सबै हुरीले...’ जस्ता प्रायः गीतमार्फत् मुरलीधर ठूलो उदासी र वेदना पोख्छन् । यी सृजनालाई उनी कुनै बेलाका आफ्नै असफल प्रेमकै उपज मान्छन् । ‘जति पनि स्रष्टा छन्, जे लेख्छन्, आफैं वरिपरिका हुन्छन्, नत्र निस्कनै सक्दैन । मसँग पनि यस्तै भएको हो । त्यसैबाट म सृजनाको ऊर्जा पाउँछु ।’ गीत लेखेपछि पुराना गाँठा परेका सम्झना फुक्दै जाने उनी बताउँछन् । अन्त्यमा बिट मार्दै भने, ‘तर म भाग्यमानी छु, मैले यस्ती श्रीमती पाएँ । जसले हर कुरा थाहा हुँदाहुँदै पनि माफ गरेर सधैं साथ दिइरहेकी छन् । मेरा हरेक रचना उनले ओके भनेपछि मात्रै पारित हुन्छ । उनी मेरो जीवन र सृजना दुवैकी सहयात्री हुन् ।’

Page 9
अर्थ वाणिज्य

हटेन वित्तीय असन्तुलन

- कान्तिपुर संवाददाता

(काठमाडौं) - बैंकिङ क्षेत्रमा वित्तीय असन्तुलन कायमै रहेको राष्ट्र बैंककै एक प्रतिवेदनले औंल्याएको छ । कर्जाको माग बढिरहे पनि सोही अनुपातमा निक्षेप बढ्न नसक्दा वित्तीय असन्तुलन कायम रहेको प्रतिवेदनको निष्कर्ष छ ।
वित्तीय असन्तुलनको सामान्य अर्थ निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी हुनु हो । खासगरी पछिल्ला तीन वर्ष यता बैंक तथा वित्तीय संस्थामा वित्तीय असन्तुलन देखिँदै आएको छ । गत भदौसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ०.४ प्रतिशतले बढेको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘सोही अवधिमा कर्जा प्रवाह २.५ प्रतिशतले बढेको छ ।’ गत भदौसम्मको निक्षेप संकलन गर्त वर्षको सोही अवधिको भन्दा कम हो । ०७५ भदौमा १.३ प्रतिशतले निक्षेप बढेको थियो । गत भदौसम्मको कर्जा प्रवाह भने अघिल्लो वर्षको सोही अवधिको भन्दा बढी हो । ०७५ भदौमा कर्जा प्रवाह २ प्रतिशतले बढेको थियो ।
गत भदौ र अघिल्लो वर्षको भदौसम्मको वार्षिक रूपमा तुलना गर्दा पनि वित्तीय असन्तुलन बढेको स्पष्ट रूपमा देखिन्छ । ‘वार्षिक बिन्दुगत आधारमा ०७६ भदौमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७ प्रतिशतले बढेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘०७६ भदौमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २० प्रतिशतले बढेको छ ।’ यसले गत भदौसम्म प्रवाह भएको कर्जा वृद्धिदर सोही अवधिको निक्षेप वृद्धिदरभन्दा ३ प्रतिशत विन्दुले बढी रहेको देखाउँछ । गत भदौसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.६ प्रतिशत छ । ०७५ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ४४.७ प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थाले छरिएर रहेको निक्षेप संकलन गरी पुँजी निर्माण गर्छन् । आवश्यकताका आधारमा सो पुँजीबाट कर्जा प्रवाह गर्छन् । यसरी निक्षेपमा निक्षेपकर्तालाई दिने ब्याज र ऋण प्रवाह गर्दा ऋणीसँग उठाउने ऋणको अन्तर नै बैंकको नाफा हो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले संकलन गरेको सबै निक्षेप ऋण लगानी गर्न पाइँदैन । ऋणको बढीमा ८० प्रतिशत मात्र कर्जा तथा सापटीमा प्रवाह गर्न पाउने राष्ट्र बैंकको निर्देशन छ ।
चालु आर्थिक वर्षको दुई महिनासम्म बैंक तथा वित्तीय संस्थाको कृषि कर्जा १.१ प्रतिशत, औद्योगिक कर्जा ३.२ प्रतिशत, निर्माण कर्जा ३.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा कर्जा २.८ प्रतिशत र सेवा उद्योग कर्जा ३.८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । ‘बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ४.५ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा १०.२ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.८ प्रतिशतले र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘ओभरड्राफ्ट कर्जा ०.८ प्रतिशतले तथा मार्जिन प्रकृतिकोकर्जा १.४ प्रतिशतले घटेको छ ।’ बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये सबैभन्दा धेरै (६४.३ प्रतिशत) घर जग्गाको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको भदौमा घर जग्गाको धितोमा ६३.१ प्रतिशत कर्जा प्रवाह भएको थियो । यस्तै, १३.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । गत वर्ष यस्तो कर्जा १४.३ प्रतिशत रहेको राष्ट्र बैंकले देखाएको छ ।
गत साउन र भदौसम्म सहुलियतपूर्ण कर्जा शीर्षकमा १६ अर्ब ४५ करोड रुपैयाँ पुनर्कर्जा लगानी भएको छ । उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह बढाउन र निर्यात विस्तार सहज गर्ने उद्देश्यले सरकारले सहुलियत दरको कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत साधारण पुनर्कर्जा १४ अर्ब २६ करोड रुपैयाँ र निर्यात पुनर्कर्जा २२ करोड ९८ लाख रुपैयाँ उपयोग भएको छ । यस्तै, भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न उपलब्ध गराइएको पुनर्कर्जाको १ अर्ब ९५ करोड रुपैयाँ छ ।

अर्थ वाणिज्य

पाइपलाइन चितवनसम्म विस्तार गरिने

आयल निगम र भारतीय आयल कर्पोरेसन्सले संयुक्त लगानीमा सर्भे
- पवन यादव
नेपाल आयल निगमले अमलेखगन्जबाट चितवनसम्म विस्तार गर्न लागेको पाइप लाइन सर्वेक्षणको पिलर गाडेर आरम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव ।तस्बिर ः पवन यादव/कान्तिपुर

(सिमरा) - नेपाल आयल निगमले मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनलाई चितवन (लोथर) सम्म विस्तार गर्न सर्वेक्षण सुरु गरेको छ ।
निगमले अमलेखगन्ज डिपोमा शनिबार आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पिलर गाडेर सर्वेक्षणको आरम्भ गरे । उनले पाइपलाइनबाट ढुवानी गर्दा ढुवानी खर्च जोगिने बताए । चितवनसम्मको पाइपलाइन सर्बेक्षण मोतिहारी–अमेलखगन्ज पाइपलाइन परियोजना जस्तै समय अवधिमै काम सम्पन्न हुने बताए । अमलेखगन्ज डिपो प्रमुख प्रदिप यादवका अनुसार सर्वेक्षणको समयावधि एक महिना हो । एक महिनापश्चात् पाइपलाइन बिस्तारको क्रममा लाग्ने खर्च र भण्डारणको लागत खर्च यकिन हुनेछ । ‘प्रोजेक्ट सम्पन्न भएपछि भारतीय आयल कर्पोरेसन्स र निगम बसेर लगानी प्रक्रियाबारे टुंगो लगाउँछौं,’ यादवले भने, ‘पाइपलाइनमा लगानी आईओसीको पनि हुन्छ ।’
निगमका अनुसार निगम र आईओसीको संयुक्त अध्ययन टोलीले ४ प्रकारको सर्वेक्षण गर्नेछ । निगमले लोथरसम्म एलपी ग्यासको पाइपलाइनसँगै भण्डारण पनि बनाउने लक्ष्य राखेको छ । यस परियोजनाअन्तर्गत अमलेखगन्जदेखि लोथरसम्मको पेट्रोलियम पाइपलाइनको लम्बाइ ६२ किलोमिटर हुनेछ । नेपाल भारत बोर्डर वीरगन्जदेखि अमलेखगन्ज हुँदै चितवनसम्मको एलपी ग्यास पाइपलाइन ९८ किलोमिटर हुने जनाएको छ । पाइपलाइनको क्षमता २ सय ९० किलोलिटर प्रतिघण्टा र एलपी ग्यासको करिब १०० टन प्रतिघण्टा हुने निगमले जारी गरेको विज्ञप्ति छ । पाइपलाइनपश्चात् लोथरमा इन्धन भण्डारण गर्न डिपो पनि निर्माण गरिने छ । लोथरमा १ लाख किलोलिटरको इन्धन भण्डारण बनाइने छ । एलपी ग्यास २० हजार टन क्षतमाको बनाइने उल्लेख छ । यस परियोजनाको लागत बिस्तृत सम्भाव्यता अध्ययनबाट मात्रै यकिन हुनेछ ।
इन्जिनियरिङ अध्ययन संस्थानको प्रारभिक अनुमानले भने पाइपलाइन निर्माणमा ५ अर्ब ६७ करोड लाग्ने उल्लेख छ । भण्डारण निर्माणमा ४ अर्ब १९ करोड गरी कुल ९ अर्ब ८६ करोड खर्च हुने जनाएको छ । एलपी ग्यासको हकमा पाइपलाइन निर्माणमा ११ अर्ब १९ करोड भण्डारण निर्माणमा ३ अर्ब ८१ करोड गरेर कुल १५ अर्ब लाग्ने जनाएको छ । सर्वे शुभारम्भ कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्रप्रसाद पौडेलले सर्वेक्षणका लागि आईओसीसँग छलफल भइरहेको बताए । ‘संयुक्त रूपमा इन्जिनियरिङ अध्ययनको काम भइरहेको छ,’ उनले भने । निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले प्रविधिक नोक्सानी अन्त हुने बताए । उनले लागत खर्च पाइपलाइन सञ्चालनको ५ वर्षमा उठ्ने दाबी गरे । सर्वेक्षण निगम र भारतीय आयल कर्पोरेसन्सले संयुक्त रूपमा गर्नेछ ।

अर्थ वाणिज्य

सधैं भारतीय फूलको डर

भारतबाट ७ लाख माला आयात
- विमल खतिवडा

(काठमाडौं) - नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल राम्रोसँग आउन नपाउँदै भारतीय फूलले बजार लिएको छ । तिहारलाई लक्ष्य गरी धान खेती नै छाडेर फूल उत्पादनमा लागेका किसान भारतीय फूलका कारण निराश छन् ।
फ्लोरीकल्चर एसोसिएसन नेपालका अनुसार भारतीय फूल आयातमा रोक लगाउन माग गरे पनि सहज रूपमा फूल भित्रिएपछि समस्या भएको हो । एसोसिएसनका महासचिव विश्वमणि पोखरेलका अनुसार शुक्रबार साँझ मात्र करिब चार करोड २० लाखको ७ लाख भारतीय माला काठमाडौं भित्रिएको छ । ‘नेपाली किसानले उत्पादन गरेको माला बजारमा आइसकेकै छैन,’ महासचिव पोखरेलले भने, ‘तर भारतीय माला रातारात आइपुगिसक्यो, कडाइ गर्न प्लान्ट क्वारेनटाइन, जिल्ला प्रशासन सबैतिर भने पनि कसैले चासो दिएनन् ।’ नेपालका २२ जिल्ला सयपत्री फूलका पकेट क्षेत्र हुन् । सबैभन्दा बढी सयपत्रीको उत्पादन चितवन, काठमाडौं र सिन्धुलीमा हुन्छ ।
‘यो वर्ष ७ देखि १० प्रतिशत माला कम हुने हो,’ उनले भने, ‘भारतबाट आउने माला ठप्प पारे अर्को वर्ष नेपालकै उत्पादनले बजार धान्न सकिने थियो ।’ उनका अनुसार फूल उत्पादनमा लागेका किसानले भारतीय फूलको डरका कारण कम उत्पादन गर्छन् । यो वर्ष २५ लाख मालाको माग छ । सबैभन्दा बढी १८ लाख सयपत्रीको छ । त्यस्तै ७ लाख मखमली र २० हजार गोदावरीको बजार माग छ । देशभर १ सय ५७ हेक्टर क्षेत्रफलमा फूल खेती हुन्छ ।
‘किसानले धानको विकल्पका रूपमा फूल लगाए पनि बाहिरबाट आउने फूलले पहिल्यै बजार लिँदा घाटा हुने डरले कम लगाउन बाध्य छन्,’ उनले भने, ‘भारतीय फूलको आयात मात्र बन्द होस्, नेपाली फूलले बजार धान्ने काम हाम्रो भयो ।’ अहिले करिब साढे २ लाख माला अपुग छ । लक्ष्मी पूजा र भाइटीकाको दिन मालाको खपत बढी हुन्छ । ‘पहिला नेपाली माला बिक्री होस् भन्ने थियो,’ उनले भने, ‘त्यो हुन सकेन, सुरुमै भारतीय मालाले बजार लियो ।’ भारतबाट ल्याइएका माला बालाजु औद्योगिक क्षेत्रको कोल्ड स्टोरमा राखिएको छ । एसोसिएसनले शनिबार भारतीय फूल आयातको विरोधमा बालाजु क्षेत्रमा र्‍यालीसमेत निकालेको थियो ।
अहिले काठमाडौं उपत्यकाको मुख्य बजार, चोकमा फूल बिक्री गर्न ब्यापारीहरूबीच प्रतिस्पर्धा नै छ । सयपत्रीको धेरै माग नेपालमा र मखमलीको विदेशमा बढी छ । वार्षिक सयपत्रीको कारोबार ४३ करोडको हुन्छ । तिहारमा मात्र साढे १३ करोडको कारोबार हुन्छ । मखमलीको करिब ३ करोड हुने गरेको छ । महासचिव पोखरेलका अनुसार गत वर्ष २२ लाख माला बिक्री भएको थयो । मखमलीको पकेट क्षेत्र भक्तपुरको गुन्डु र साँखु हो । त्यस्तै गोदावरी फूल भक्तपुर, काभ्रे, काठमाडौं, ललितपुरका विभिन्न ठाउँमा बढी हुने गरेको छ । बर्सेनि १० देखि १५ प्रतिशत मालाको खपत बढ्ने गरेको छ । गत वर्ष भारतबाट ५ लाख माला आएको थियो । ‘पहिलो चरणमा ३ र पछि २ लाख माला आएको थियो,’ उनले भने, ‘३ लाख माला त खेरै गयो ।’ भारतबाट आउने माला धेरै कोल्ड स्टोरमा राखिने भएकाले राम्रोसँग प्रयोगमा नआउँदै कालो हुने उनको दाबी छ । ‘उत्पादनमा समस्या छैन,’ उनले भने, ‘शतप्रतिशत उत्पादन गर्दा भारतीय मालाका कारण जोखिम छ ।’

Page 10
अर्थ वाणिज्य

बर्सेनि खुम्चिँदै अन्नभण्डार

- ठाकुरसिंह थारु

(बर्दिया) - बर्दियामा खेतीयोग्य जग्गा खुम्चिँदो छ । खेतीयोग्य जमिन घट्दै गएपछि कृषि उत्पादन पनि घटेको छ ।
निजी वन बनाउनेलगायतका कारणले कृषियोग्य जमिन घट्दै गएको कृषि प्राविधिकको अनुमान छ । निजी वनको क्षेत्रफल बढाएपछि खेतीयोग्य जमिन घटेको छ । जग्गा प्लाटिङ, नदीको कटान, उद्योग स्थापना, कृषिलाई आवश्यक पर्ने मल, बीउ महँगो हुँदा खेतीयोग्य जमिन घट्दै गएको हो । बर्दियाका धेरै फाँटमा सहरीकरण
बढ्दो छ । त्यस्तै इँटा उद्योग खुल्ने क्रम पनि थपिँदै गएको छ ।
बर्दिया र बाँकेको कृषि क्षेत्र हेर्ने कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले पछिल्लो समय खेतीयोग्य जग्गा घट्ने क्रम बढेको बताए । यही क्रम जारी रह्यो भने अन्नको भण्डार मानिने बर्दियामा कृषि क्षेत्र नै संकटमा पर्नेछ । प्रदेश तथा स्थानीयले कृषि क्षेत्रमा जोड दिइरहेका बेला खेतीयोग्य जग्गाको संरक्षणका लागि भने ठोस नीति ल्याउन सकेका छैनन् । ‘खेतीयोग्य जग्गा घट्ने थुप्रै कारण छन् । तर, प्रमुख रूपमा निजी वन, नदी कटान, प्लाटिङलगायत कारण हुन्,’ उनले भने, ‘खेतीयोग्य जग्गा संरक्षणका लागि ठोस नीति ल्याउन आवश्यक छ ।’ बर्दियामा एक दशकअघि ७५ हजार हेक्टर जग्गामा खेती हुँदै आएको थियो । पछिल्लो तथ्यांकले करिब ४६ हजार हेक्टर जग्गामा मात्र धान खेती हुने देखाएको छ ।
यहाँ ३५ इँटा उद्योगले १४ हजार वर्गमिटर जग्गा घटाएका छन् । इँटा उद्योग सञ्चालनपछि उब्जाउ खेत बालुवा र कंक्रिटमा परिणत भएको छ । उद्योग खोल्ने स्पष्ट सरकारी नीति नहुँदा खाद्यान्न उत्पादन हुने जग्गामा इँटा फल्न थालेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय गुलरियाका प्रमुख मोहन घर्ती मगरले गाउँबस्तीदेखि एक किलोमिटर टाढा इँटा उद्योग खोल्न पाउने नियम रहेको बताए ।
उनका अनुसार खेतीयोग्य जग्गामा इँटा उद्योग खोल्नका लागि कुनै स्पष्ट नीति छैन । एउटा उद्योगका लागि चार सय वर्गमिटर फिट जग्गा आवश्यक पर्छ । ३५ इँटा उद्योगलाई मात्रै आधार मान्ने हो भने पनि १४ हजार वर्गमिटर खेतीयोग्य जग्गा घटेको देखिन्छ । कृषिको तथ्यांकअनुसार बाँकेमा ५७ हजार २ सय ५२ हेक्टर जग्गा खेतीयोग्य जग्गा छ । त्यसमध्ये ५२ हजार ८ सय ३८ हेक्टरमा खेती हुन्छ । इँटा उद्योग सञ्चालकले किसानका जग्गा लिजमा लिएर उद्योग खोल्ने गरेका छन् ।
पछिल्लो समय खेती गर्ने जनशक्तिमा कमी आएपछि निजी वन लगाउने क्रम बढेको छ । वन डिभिजन कार्यालय बर्दियाका प्रमुख वन अधिकृत हरिप्रसाद श्रेष्ठका अनुसार खेतीयोग्य जग्गामा रूख रोप्ने क्रम एकदमै बढेको बताए । एक पटक रोपेपछि आठ/दस वर्षसम्ममा बिनाझन्झट फाइदा हुन्छ । उनले निजी वन दर्ता गराउने क्रम पनि बढेको बताए । ‘यहाँ जग्गा भएको तर जिल्ला बाहिर बस्ने जग्गाधनी पनि धेरै छन् । त्यसैले उहाँहरूले रूख रोप्ने अनि वर्षौंपछि आएर बिक्री गर्नुहुन्छ,’ उनले भने, ‘कृषिमा हरेकपल्ट लगानी गर्नुपर्ने तर आम्दानी पनि कम हुने भएर पनि निजी वनमा आकर्षण बढेको हो ।’ त्यस्तै किसानले बटैयामा खेती लगाउन छोडेपछि पनि जग्गाधनीले रूख रोप्न थालेका हुन् ।
बढैयाताल गाउँपालिको मैनापोखर, भोलागौली, कालिकालगायत स्थानका जग्गा घडेरीका लागि बिक्री भइसकेका छन् । बाँसगढी नगरपालिकामा जग्गाको मूल्य छोइनसक्नु छ । ठाकुरबाबा नगरपालिकाको भुरी गाउँ, मधुवन नगरपालिकाको ताराता, सानोश्री क्षेत्रका खेतीयोग्य जग्गा घडेरीका रूपमा परिणात भइसकेका छन् ।
बबई नदीले बर्सेनि सयौं बिघा खेतीयोग्य जमिन कटान गर्दै आएको छ । परेवा ओडरदेखि भारतको सीमासम्मको हजारौं नेपालीको जग्गा कटान र पटानले बगर बनिसकेको छ । सीमा नजिकै भारतले बनाएको गोपिया र कैलाशपुरी बाँधले कटान बढी हुने गरेको हो । कैलाशपुरी बाँधले बर्दियाको राजापुर क्षेत्र र कैलालीका बस्ती डुबान पर्दै आएका छन् । गोपिया बाँधका कारण गुलरिया नगरपालिकाको रत्नपुर, परसिया, बाँधुपुर, भादागाउँ, इन्द्रपुर, सुरजपुर, तुलसीपुर, जब्दी, भैसाही, मोहम्दपुरलगायत दर्जनभन्दा बढी गाउँ डुबानमा पर्दै आएका छन् । मल, बीउ महँगो छ । भनेको बेला पाइँदैन । युवापुस्तामा खेतीप्रतिको आर्कषण घटेको छ । हाल मलको चरम अभाव छ । ज्ञान केन्द्र प्रमुख ढकाल कृषि उत्पादन बढाउन सरकारले कृषिमा सहुलियत दिनुपर्ने सुझाव दिन्छन् । मल, बीउ महँगो हुँदा किसाले श्रमअनुसारको पारिश्रमिक पाउँदैनन् ।

अर्थ वाणिज्य

माछापालनमा नयाँ प्रविधि

- अगन्धर तिवारीे
पर्वतको कुस्मा–२ अर्मादीमा सञ्चालित बायोफक्स प्रविधिका माछापोखरीमा माछालाई दाना हाल्दै कामदार ।तस्बिर ः अगन्धर/कान्तिपुर 

(पर्वत) - कृषिमा आधुनिकीकरणको लहर चलिरहेका बेला यहाँका दुई युवाले करिब तीन करोडको लगानीमा माछापालन सुरु गरेका छन् । थोरै जमिनमा धेरै उत्पादन दिने गरी सुरु गरिएको धौलागिरि एकीकृत कृषि फार्म मुलुकमै नयाँ प्रविधिको माछापालन फर्म भएको दाबी गरिएको छ ।
दशकदेखि व्यावसायिक कृषिमा संलग्न लालबहादुर हरिजन र दुर्गा पौडेलले २३ रोपनी जमिनमा बायोफक्स प्रविधिबाट माछापालन सुरु गरेका हुन् । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डअन्तर्गतको अर्मादीमा स्थानीयसँग २० वर्षका लागि जग्गा भाडामा लिएर फार्म सञ्चालन गरेका हुन् । यो प्रविधिअन्तर्गत माछापालन गर्दा थोरै क्षेत्रफलमा धेरै प्रजातिका पाल्न मिल्ने, छोटो समयमा आम्दानी लिन सकिने, दाना खेर नजाने लगायत फाइदा हुने सञ्चालकले बताए । ‘कृषिमा नयाँ प्रविधि खोजेर व्यवहारमा उतार्न खोज्दा यहाँसम्म आइयो,’ हरिजनले भने, ‘भइरहेको भन्दा फरक गर्न खोज्दा जोखिमसँगै सम्भावना पनि रहेछ ।’
विकसित मुलुकमा बढी प्रयोगमा ल्याइएको यस्तो प्रविधिको माछापालन सुरुमा अलि झन्झटिलो हुने सञ्चालकले बताए । गोलाकार फलामे जालीमा प्लास्टिक पोखरी बनाएर पानी भरेर माछापालन गरिने प्रविधि बायोफक्स हो । युरोप र जापानजस्ता मुलुकमा लोकप्रिय बनेको लगानीकर्ता दुर्गा पौडेलले बताए । ‘गुगलमा खोज्दै जाँदा यस्तो प्रविधि भेटियो,’ पौडेलले भने, ‘सुरु गरिहालौं भनेर आँटियो । पछि प्लास्टिकको पोखरी फेल खायो ।’ उनीहरूले इँटा र सिमेन्टको गारो लगाएरै गोलाकार पोखरी बनाएका
हुन् । हाल करिब २ दर्जन पोखरीमा एक लाखभन्दा बढी माहुर, तिलापिया र पंगासेस (जलकपुर) जातका माछा छन् । त्यसबाहेक उनीहरूले करिब ४ हजार ब्रोइलर कुखुरापालन थालेका छन् ।
पर्वत र बागलुङका ८ स्थानमा बिक्री केन्द्र सञ्चालनको तयारी गरेका छन् । ‘बागलुङका तीन ठाउँमा सुरु भइसक्यो,’ पौडेलले भने, ‘पर्वतमा व्यवस्थापन गर्दै छौं ।’ आफ्नै फार्मका माछा र कुखुरा व्यवस्थित बध गरेर उपभोक्ताका घरघरै शुद्ध माछामासु पठाउन बिक्री केन्द्र सञ्चालन गर्न लागिएको हो । फार्मकै नामबाट धौलागिरिमै पहिलोपटक आधुनिक कुखुरा बधस्थल सञ्चालनको तयारी गरेका छन् । करिब सवा करोड लगानीमा सञ्चालन तयारीमा रहेको ‘अटोमेटिक सटरिङ लाइन’ मार्फत धौलागिरिमा भइरहेको अव्यवस्थित कुखुरा बध गर्ने प्रचलन अन्त्य हुने विश्वास गरिएको उनले बताए । बधस्थलका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ अनुदान दिएको छ । ‘व्यवस्थित बधस्थलको अभावमा उपभोक्ताले अस्वस्थ मासु खानुपरेको छ,’ हरिजनले भने, ‘अब त्यस्तो अवस्थाको अन्त्य हुनेछ ।’
माहुर, तिलापिया र जलकपुर जातका माछा कम्तीमा ८ देखि १० महिनामा बेच्न मिल्छ । माहुर एक किलोसम्म हुन्छ । यसको बजार मूल्य प्रतिकिलो ४ सय रुपैयाँसम्म छ । जलकपुर आधा किलोको हुन्छ । यसको बजार मूल्य प्रतिकिलो ५ सय रुपैयाँ छ । तिलापिया बढीमा दुई सय ग्रामको हुन्छ । तिलापियाले भुरा आफैं उत्पादन गर्ने भएकाले यसको विस्तारमा सहज हुने उनीहरूले बताए । तिलापिया पनि प्रतिकिलो ४ सयमा बिक्री हुन्छ । पौडेल र हरिजन फार्ममा आफैं आलोपालो खट्छन् । त्यसबाहेक ३ जना कामदार छन् । केही महिनाभित्रै मासिक ३ लाख आम्दानी लिन सकिने योजनामा उनीहरू छन् ।

अर्थ वाणिज्य

किबी खेतीलाई प्राविधिक सेवा अभाव

- कान्तिपुर संवाददाता

तेह्रथुम (कास)– घर अगाडि लटरम्म फलेको किबी हेरेर लालीगुराँस नगरपालिका ९ सोल्माका किसान टेकबहादुर केप्छाकी मगर यतिबेला मख्ख छन् । परीक्षणका लागि करिब ३ सय बोट लगाएको उनले बताए । तर, बगानमा लटरम्म फलेको किबीलाई टिपेर कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ताले उनलाई पाकी नसक्दै पिरोल्न लागेको छ ।
अलैंचीको बिरुवा खरिद गर्न इलाम पुगेका बेला त्यहाँका किसानले खेती गरेको देखेर सुरुमा केही बिरुवा ल्याएर रोपेका मगरका बारीमा यतिबेला ३ सयको हाराहारीमा किबीका बोट हुर्किएका छन् ।
सबै बोटमा थामी नसक्नु गरी फल लागेको छ । सुरुमा रहरले रोपेको किबीको फलबाट अहिले राम्रै आम्दानी हुन थालेपछि ठीकै गरिएछ भन्ने लागेको उनले बताए । कृषिबाटै करोडपति बन्न सकिन्छ भन्ने सोचेर किबी खेतीतर्फ लागेको उनको भनाइ छ । ४१ वर्षीय मगर किबी खेतीसँगै चिया, अलैंची खेती र अलैंची बेर्ना उत्पादनमा एकैपटक लागेका छन् । उनले केप्छाकी बहुउद्देशीय नर्सरी फार्म पनि आफैंले सञ्चालनमा ल्याएका छन् ।
छ वर्षअघि आफ्नो करेसाबारीमा मगरले ५० बोट जति किबी लगाएका थिए । सुरुमा यसको बिरुवा प्रतिगोटा ८ सय रुपैयाँसम्ममा ललितपुरबाट मगाउनुपर्थ्यो । पछि उनले बिरुवा थपेर बारीमा लगाए । किबी खेतीमा करिब ३ लाख रुपैयाँ लगानी गरेका उनी फलले भनेजस्तो बजार नपाउँदा भने निकै निराश देखिन्छन् । ‘उत्पादन सुरु भएको पहिलो वर्ष नै लगानी त उठाएँ,’ उनले भने, ‘त्यसयता भने राम्रो मूल्य लिएर किबी बिक्री गर्न पाएको छैन ।’
किबी फलको मूल्य न्यून हुँदा सोचेजस्तो फाइदा लिन नसकेको उनको भनाइ छ । केही वर्षअघिसम्म प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री हुने किबी फल अहिले भने १ सय ५० रुपैयाँमा पनि बिक्री हुन नसकेको उनले गुनासो गरे । राम्रो मूल्य नपाउनु र बजारको ग्यारेन्टी नहुँदा यो वर्षको फल कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्तमा आफू रहेको उनको भनाइ छ ।
खेती सुरु गर्दा जिल्लामा एकदमै थोरै किसानले मात्र किबी खेती सुरु गरेका थिए । किबी फल जिल्लामा नौलो खेती थियो । तर, अहिले धेरै किसान किबी खेतीमा लागेका छन् । प्रतिबोट ७० देखि १ सय केजीसम्म फल फलेको उनले बताए । गत वर्षबाट थप २ सय रोपनी जमिनमा किबीका बिरुवा मगरले लगाएका छन् । अबको ५ वर्षभित्र किबीको फलबाट मात्रै वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य उनको छ । फलसँगै बिरुवाबाट पनि आम्दानी गर्ने उनको सोचाइ छ ।

अर्थ वाणिज्य

पुत्का मौरी अवलोकन गर्न भीड

- मधु शाही,गिरुप्रसाद भण्डारी
प्यूठान नगरपालिका–७, टिकुरीमा राखिएका मौरीका घार ।तस्बिर ः गिरुप्रसाद/कान्तिपुर

(बाँके/प्यूठान) - पुत्का मौरी रूखका धोद्रामा पाइन्छन् । व्यावसायिक रूपमा बिरलै पाल्ने गरिएको छ । कोहलपुर नगरपालिका–११ का ५२ वर्षीय पुरमल बस्नेत मौरी चराउँदै बर्दियासम्म पुगे । त्यहाँ थारू समुदायका गुरुवाले मग्रारासा (पुत्का) मौरीको मह मिसाएर आयुर्वेद औषधि बनाएको देखे । त्यसले आँखामा उपचार गरिरहेका थिए । त्यसपछि पुत्का मौरी संरक्षण र पहिचानमा सक्रिय भए ।
आठ वर्षदेखि बस्नेत यही जातको मौरी पालन गरिरहेका छन् । जंगल घुम्दै रूखको धोद्रामा रहेका मौरी समाउँछन् र घरमा ल्याएर पाल्छन् । मौरी व्यवस्थापनको विषयमा अनभिज्ञ थिए । पुत्का मौरी अध्ययनका लागि उनले भारतको केरला पुगेर एक साताको तालिम लिए ।
नेपालमा पुत्का मौरीबारे खासै अनुसन्धान नगरिएकाले भारत पुगेको उनले बताए । तालिमपछि पुत्का पालन व्यावसायिक रूपमै सुरु गरेको उनले बताए । अहिले घरमा पाँचवटा आधुनिक घार छन् । मह किन्न आउनेभन्दा त्यसलाई अवलोकन गर्न आउनेको भीड लाग्छ । त्यस्तै, पछिल्लो समय पुत्का मौरीको मह औषधिका रूपमा प्रयोग हुन थालेको छ । खासगरी आँखासम्बन्धी दुखाइ वा समस्यालाई सहज बनाउन यसको मह प्रयोग हुँदै आएको उनले बताए ।
उनी पुत्का मौरी औषधिका लागि मात्रै बेच्ने गर्छन् । अरू महको तुलनामा पुत्का मौरीको मह धेरै उत्पादन हुँदैन । औषधिका रूपमा यस महको माग बढ्न थालेपछि बस्नेत हौसिएका छन् । प्राविधिक पक्षले अनुसन्धान गरेर यो मौरीको उपयोगिता र महत्त्व
नछुट्याउँदा लोप हुने अवस्थामा आएको उनले सुनाए । गत बुधबार पुत्का मौरीको परिचय र संरक्षणका विषयमा छलफल कार्यक्रम गरिएको थियो । जसमा बस्नेतले पुत्का मौरी पालन र यसको संरक्षणमा गरेको अनुभवसँगै अन्य मौरी व्यवसायीको सल्लाह लिइएको थियो ।
मौरी विकास केन्द्र गोदावरीका मौरीविज्ञ तीर्थकुमार श्रेष्ठ, कीरा विज्ञान (नार्क)का किट वैज्ञानिक सञ्जय विष्ट र किटविज्ञ दिनेशबाबु तिवारीले पुत्का मौरीको महत्त्व र फाइदा व्यापक भए पनि यस विषयमा नेपालमा वैज्ञानिक अनुसन्धान गर्ने कुनै प्राविधिक पक्ष नभएको बताए । कीरा वैज्ञानिक विष्टका अनुसार परम्परागत मान्यता हेर्दा पुत्का मौरी औषधिका रूपमा प्रयोग हुँदै आएको छ । ‘तर, यसको वैज्ञानिक अनुसन्धान भएको छैन,’ उनले भने, ‘खोजी हुन सके यसबाट राम्रो व्यवसाय गर्न सकिन्छ ।’ मौरीविज्ञ श्रेष्ठका अनुसार बाँके, बर्दिया र कैलालीजस्ता चुरे एवं भित्री मधेसमा यो जातको मौरी पालन फस्टाउन सक्छ । ‘विदेशमा यसको बजार ठूलो छ,’ उनले भने, ‘पुत्का मौरीको मह अरू महको तुलनामा २० गुणा बढी महँगोमा बिक्री हुन्छ ।’


चरन क्षेत्र प्यूठान
चरन क्षेत्र राम्रो मानेर प्यूठानका विभिन्न स्थानमा किसानले मौरी चराउन ल्याएका छन् । चिउरीका बोट धेरै रहेको र तोरी खेती गरिने स्थान विभिन्न जिल्लाबाट चराउन ल्याएका मौरी घारले भरिभराउ छ । यो सिजन प्यूठान मौरी चरनका लागि राम्रो गन्तव्य भएकाले किसानहरूले मौरी चराउन ल्याएका हुन् । प्यूठानमा हिजोआज चिउरी फुलेको छ भने असोजमा छरेको तोरी फुल्दै छ । चिउरी र तोरी मौरी चरनका लागि निकै राम्रो मानिन्छ । जिल्लाका विभिन्न ठाउँमा १५ सयभन्दा बढी मौरीका बाकस राखिएका छन् ।
‘यो सिजन प्यूठान मौरी चरनका लागि निकै राम्रो गन्तव्य हो,’ सर्लाहीका किसान हेमराज देवकोटाले भने, ‘यस बेला मौरीले मह पनि निकै राम्रो बनाउँछ ।’ उनले प्यूठानमा मौरी चराउन आउन थालेको १० वर्ष भएको बताए । देवकोटा १ सय ५० गोला मौरी राखेर प्यूठान नगरपालिका–७ स्थित पुण्यखोलामा बसेका छन् । जिल्लाको सरुमारानी गाउँपालिकाको बड्डाँडा, मोतीपुर, स्वर्गद्वारी नगरपालिकाको गोठीबाङ, अमलटार, प्यूठान नगरपालिकाको मरन्ठाना, टारी, टिकुरी, बाग्दुला, खानीखोला, ढाडमग्रालगायत स्थानमा मौरी घार राखेर किसान बसेका छन् । देवकोटाका अनुसार पाँच हजार गोलालाई चरन पुग्ने प्यूठानमा स्रोत छ । ‘प्यूठानमा मौरीका घार लिएर आएको एक साता भो,’ उनले भने, ‘स्रोतसम्म मौरी पुगेको छ । अब एक सातामै मह निकाल्न सुरु हुन्छ ।’ यस सिजनमा स्रोत राम्रो हुने भएपछि एक घार मौरीबाट १०/१२ किलोसम्म मह निक्लिले किसानहरूले बताए । मौरी चराउन आएका किसान मंसिर अन्तिमसम्म प्यूठानमै बस्छन् । पर्सा, चितवन, नवलपरासीका किसान कात्तिक–मंसिरमा प्यूठान, पुस–माघमा कपिलवस्तु, रूपन्देही, लुम्बिनी आसपास र फागुनदेखि वैशाखसम्म रौतहट–सर्लाही क्षेत्रमा मौरी चराउन जाने गरेको मौरी किसान इन्दुकुमारी रानाले बताइन् । ‘प्यूठानमा चिउरी, लुम्बिनीमा तोरी, सर्लाही, पर्सामा दुधिलो, सिसौ, मसलाका बोटमा मौरी चर्छन्,’ उनले भनिन्, ‘चराउन हिँडाउन थालेदेखि कमाइ पनि राम्रो छ ।’

 

अर्थ वाणिज्य

धानमा नेकब्लास्ट र फड्के किरा

- हरिराम उप्रेती

(गोरखा) - भित्र्याउने बेला धानमा समस्या देखिएपछि यहाँका किसान निराश बनेका छन् । पालुङटार नगरपालिका–९ खारखोला फाँट क्षेत्रका धान खेतमा नेकब्लास्ट (धानको बालामुन्तिर डढुवा) देखिएको छ । पालुङटार नगरपालिका–५ गौंडाबगरमा खैरे फड्के किराले धान बाली सखाप पारेको छ ।
खारखोला फाँटको झन्डै ५ सय रोपनीमा साता दिनअघि आंशिक
रूपमा देखिएको डढुवा (धानको बालामुन्तिर कालो दाग बस्ने) फैलँदै गएको किसानले बताए ।
सावित्री जातको धानमा यस्तो समस्या देखिएको हो । ३ वर्षदेखि डढुवा देखापर्न थालेको पालुङटार–९ पारिडिहीका किसान उमेश ढकालले बताए । चार रोपनी क्षेत्रफलमा धान खेती गरेका ढकालले यस वर्ष आधा उब्जनी पनि भित्र्याउन नपाउने गुनासो गरे । ‘अहिलै पूर्ण क्षति भन्न मिल्दैन, डढुवा आंशिक देखापरेको छ,’ उनले भने, ‘दिनदिनै बढ्दै जाँदो रहेछ ।’ बाला लाग्ने बेला यस्तो समस्या देखापरेको उनले बताए । ‘धानको घाँटी नै कालो हुन्छ काटेर पाँजा सुकाएपछि ठुन्किएर झर्छ, यसले दाना पनि लाग्न नदिँदो रहेछ,’ उनले भने । एकपछि अर्को गरामा रोग सर्दै गएको उनले बताए । हावाबाट पनि सर्ने उनको भनाइ छ ।
यस वर्ष उक्त क्षेत्रका किसानले चैतेधान भित्र्याउन पाएनन् । ‘बाला झुल्ने बेला झुलेको जस्तो देखिने तर दाना नलाग्ने सबै भुस हुने,’ उनले भने, ‘यतिका दुःख परालका लागि मात्र गरेजस्तो भयो ।’ फाँटको धौखोला दोभानदेखि चुतीखोला दोभानसम्मका क्षेत्रमा नेकब्लास्ट देखिएको उनले बताए । झन्डै एक सय बढी किसान प्रभावित बनेका छन् ।
‘हाइब्रिड धान लगाएका छिमेकीको धान पाकिसकेको छ, काट्न पनि थालेका छन्, त्यति समस्या छैन,’ उनले भने, ‘सावित्री जातको धान भर्खरै झुलेको छ, यही बेला रोग फैलियो ।’ रोगका कारण उब्जनी आधा कम हुने उनले बताए । ‘कृषि कार्यालयले सिफारिस गरेको हल्डिनाथ १ भन्ने धान ३ वर्षअघि लगाउँदा रोग भित्रियो,’ उनले भने, ‘त्यसयता राम्रोसँग धान भित्र्याउन पाएका छैनौँ, गत वर्ष चैते धानमा यस्तै समस्या थियो, धान नकाटी जोत्न नमिल्ने पराल काटेर बगरमा फाल्नुपर्‍यो ।’ दुईदेखि १५ रोपनी क्षेत्रफलमा धान खेती लगाएर वर्ष दिनभरि गुजारा गर्ने किसान भित्र्याउने बेलाको धान खेतीमा समस्या आएपछि चिन्तित बनेको उनले बताए ।
कृषि प्राविधिकले बाला झुल्नुअगावै विषादीको प्रयोग गर्न सुझाव दिएका छन् । तर, बाला झुलिसकेकाले यस वर्ष उपचार सम्भव भएन । किसानको गुनासोपछि आइतबार उक्त क्षेत्रमा कृषि ज्ञान केन्द्रका प्राविधिकले स्थलगत अध्ययन गरे । रोग परम्परागत भएको कृषि प्रसार अधिकृत भवनाथ देवकोटा बताउँछन् । स्थलगत रूपमा हेर्दा १० प्रतिशतमा नेकब्लास्ट देखिएको उनले बताए । ‘सावित्री धान छठपछि मात्र काट्ने हो, अहिले झुल्ने बेला छ,’ उनले भने, ‘यो फैलँदै जान्छ, यसले अझै नोक्सान गर्ला ।’ धान झुलेपछि विषादी नलाग्ने उनले प्रस्टाए । उनले भने, ‘उत्पादन भएको त्यही दाना बीउ भण्डारण गरे, ब्याड राख्दा त्यही बीउ प्रयोग भयो, बीउ नै रोगी पनि भयो ।’ आगामी वर्ष बीउ राख्ने बेलादेखि नै स्वच्छ बीउ राख्न र झुल्नु आगावै विषादीको प्रयोग गर्न उनले सुझाए ।
गौंडाबगर फाँटमा खैरो फड्के किराले धान सखाप पारेको छ । करिब ३२५ रोपनीमा यस्तो समस्या देखापरेको स्थानीय किसान निर्मल श्रेष्ठले बताए । ‘फाँटै सखापै बनायो,’ श्रेष्ठले भने, ‘धानको बोटै खाइदियो ।’ गरिमा जातको धानमा समस्या देखापरेको उनको भनाइ छ । ‘राम्रो फल्छ भनेर रैथाने बीउ नलगाई बजारबाट किनेर लगायौं,’ उनले भने, ‘अहिले दुःख भयो, केहीले आधा उब्जनी भित्र्याए, केहीमा बाला लागेन, बाला नपसाएको ६० रोपनी जतिमा आगो लगाउने तयारी हुँदै छ ।’
करिब ७० किसानले यस वर्ष धान खेतमा यस्तो समस्या देखिएको उनले बताए । ७५ प्रतिशत धान बाली नोक्सान भएको कृषि प्रसार अधिकारी देवकोटाले बताए । ‘किराले चुसिदिएपछि दाना फोस्रो हुन्छ,’ उनले भने । उक्त किरा नियन्त्रणमा समस्या देखिएको उनले बताए । ‘यस किरालाई नियन्त्रणभन्दा पनि व्यवस्थापन गर्न सकिन्छ, पानी हुँदा फेदमा फुल पार्छ, पानी लगाउने सुकाउने गरेर व्यवस्थापन गर्न सकिन्थ्यो,’ उनले भने ।

Page 11
खेलकुद

पहाडमा भलिबल 'क्रेज'

- वीरेन्द्र केसी,माधव अर्याल
अर्घाखाँचीको सन्धिखर्कमा भएको भलिबल खेलमा भिड्दै खेलाडी । तस्बिर ः वीरेन्द्र केसी/कान्तिपुर

(अर्घाखाँची/पाल्पा) - अर्घाखाँची युवा परिषद्ले ७ वर्षदेखि सदरमुकाम सन्धिखर्कस्थित टुँडिखेलमा जिल्लास्तरीय भलिबल प्रतियोगिता गर्दै आएको छ । केही दिनअघि अन्तरपालिका रनिङ सिल्ड भलिबल भयो । उक्त प्रतियोगिताको उपाधि शीतगंगा नगरपालिकाले जित्यो । दसैंपछि परिषदले जिल्लामै ठूलो पुरस्कार राशिको प्रतियोगिता सञ्चालन गर्ने गर्छ । जिल्लामा भलिबल खेलाडीलाई प्रोत्साहन गर्न स्वदेश तथा विदेशमा रहेका युवामार्फत सहयोग जुटाएर खेल हुने गरेको परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए ।
छत्रदेव गाउँपालिकाले ठूलापोखराको रातामाटामा बुधबारदेखि अध्यक्ष कप रनिङ सिल्ड भलिबल गरेको छ । पहिला यहाँ भिरालो थियो । गाउँपालिकाले ४५ लाख रुपैयाँ लगानी गरेर खेल मैदान बनायो । त्यसमा भलिबल र क्रिकेट खेल्न मिल्छ । प्यारापिटसहितको रंगशाला बनाउन खेलकुद मन्त्रालयमा बजेट माग गरिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले बताए । राटामाटामा विभिन्न खेल आयोजना गर्न रंगशाला बनाउन लागिएको उनले सुनाए । ‘विकास र समृद्धिका कामसँगै अतिरिक्त क्रियाकपाल चाहिन्छ, त्यसैले यहाँ रंगशाला निर्माण गर्न लागिएको हो,’ उनले भने । ८ वटै वडाबाट खेलाडी टिम भलिबल प्रतिस्पर्धा गर्दैछन् ।
उक्त पालिकामा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल गर्ने तयारी छ । ‘भलिबललगत्तै क्रिकेट हुनेछ, खेलकुद गतिविधि सञ्चालन गर्न गाउँसभाले चालु आर्थिक वर्ष ११ लाख बजेट छुट्याएको छ,’ उनले भने । स्थानीय सरकारको अनुभूत गराउन रनिङ सिल्ड गरिएको उनले बताए । पूर्वाधारयुक्त र सुविधासम्पन्न बनाएर अन्तरपालिका एवं जिल्लास्तरीय खेलकुद गतिविधि सञ्चालन गर्ने उनले बताए । छत्रदेव–५ का भलिबलका कप्तान राजु बस्नेतले पहिले यस्ता खेलमा भाग लिन सदरमुकाम धाउनुपर्ने सम्झिए । ‘एक वर्षदेखि गाउँमै ठूला प्रतियोगिता भइरहेका छन,’ उनले भने, ‘खेलका लागि बजेट छुट्याइएकाले हामी उत्साही छौं ।’ भूमिकास्थान नगरपालिकाले विभिन्न खेल मैदान निर्माणका लागि नगर, प्रदेश र संघ सरकारबाट बजेट लगानी गरेको छ ।
चिदीचौर, खिल्जी, ढाकावाङ, आरिचौर, धनचौरलगायतका ठाउँमा मैदान निर्माणका लागि तीनवटै सरकारको १ करोड लगानी गरेको नगर प्रमुख रेशम थापाले बताए । केही ठाउँमा क्रिकेट र धेरै ठाउँमा भलिबलको कोर्ट उपयुक्त छन् । हिउँदभर पालिका र वडास्तरीय खेलकुद प्रतियोगिता भइरहेका छन् । बुधबारदेखि डेवा धनचौरमा स्थानीय खेलाडीबीच भलिबल भएको उनले बताए । अन्य खेल प्रतियोगिता गर्न सम्भव नभए पनि भलिबल र क्रिकेटका खेलाडी उत्पादन गर्न बजेट विनियोजन गरिएको उनले बताए । जिल्लाको पाणिनि, मालारानी गाउँपालिका र शीतगंगा नगरपालिकाले पनि मैदान निर्माणमा बजेट छुट््याएका छन् । जिल्लाका छवटै स्थानीय तहका वडापिच्छे भलिबल खेल भइरहेका छन् ।

चाडपर्वमा लहर
दसैंतिहार जस्ता चाडपर्वमा पाल्पाका एक दर्जनभन्दा बढी स्थानमा भलिबल प्रतियोगिता भएका छन् । ग्रामीण भेगमा फुटबलभन्दा बढी भलिबलकै क्रेज भएकाले पनि यस्ता प्रतियोगिता क्लब, समूह, युवाले आयोजना गर्ने गरेका हुन् । अहिले राष्ट्रिय खेलको मान्यता पाएकाले पनि यसको क्रेज बढेको छ । १० हजारदेखि ६० हजार रुपैयाँसम्म पुरस्कार राखेर दसैं र तिहारमा थुप्रै भलिबल प्रतियोगिता भए । खुला, पालिकास्तरीय, क्लबस्तरीय, वडा कप हुने गरेको हो । फोक्सिङकोट, गोठादी, झडेवा, गेझा, गल्धा, जल्पा, मित्याल, मस्यामलगायतका स्थानमा दसैं अवसरमा प्रतियोगिता भएको थियो । तिहारलक्षित प्रतियोगिता पनि भएको छ । मण्डली स्पोर्ट्स क्लबले राखेको प्रतियोगितामा जिल्ला मात्र नभई छिमेकी स्याङ्जा, तनहुँ र पूर्व नवलपरासीबाट समेत सहभागी भए । ‘गाउँमा भलिबलको बढी नै क्रेज छ,’ मण्डली स्पोर्ट्सका अध्यक्ष अनन्त श्रेष्ठले भने, ‘फुटबल, क्रिकेटका लागि मैदान नै छैन । त्यही भएर भलिवलमा बढी उत्साही हुन्छन् ।’ गाउँका विद्यालयमा पनि प्रतियोगिता हुने गर्छ । विद्यालयस्तरीय प्रतियोगितामा पनि कक्षा ९ देखि १२ सम्मकाले भलिबलमै भाग लिन्छन् । दसैं र तिहारलक्षित प्रतियोगिताहरू ग्रामीण भेगमा बढी हुने गर्छ ।
‘घरबाट बाहिर काममा गएकाहरू पनि आउने समय हुन्छ,’ फोक्सिङकोटको द रिमिघा लेकसाइड युवा क्लबका अध्यक्ष डम्बरबहादुर आलेले भने, ‘त्यसैले प्रतियोगिता गर्दा सहयोग पनि जुटाउन सजिलो हुन्छ ।’ जिल्लाका अधिकांश स्थानमा मगर बस्ती छ । मगर समुदायमा बढी भलिबल नै खेल्ने गर्छन् । विद्यालय तहबाटसमेत भलिबलमै रूचि जगाइएको हुन्छ । युवा करण गाहाका अनुसार कक्षा ७ देखि नै भलिबल खेल्ने भएकाले पनि यसमा बढी रूचि भएको हो । ‘खाजा छुट्टीमा नै हामी भलिबल खेलेर हुर्केका हौं,’ उनले भने, ‘मैदान पनि ठूला हुन्न त्यसैले गर्दा पनि अन्य खेलभन्दा बढी भलिवल नै बढी खेलिन्छ ।’
चाडपर्वमा साथीभाइ बढी जुट्ने भएकाले पनि प्रतियोगिता बढी आयोजना हुने गरेको उनले बताए । जिल्लाका ८१ मध्ये ६० बढी वडामा भलिबलको टिम छ । अधिकांस वडामा एउटैमा १० टिमभन्दा बढी छन् । तिनाउको मस्याममा २८ टिम छ भने झडेवा, कोलडाँडामा १५ टिम पुग्ने भलिबल खेलाडी छन् । ‘अवसर पाउने हो भने राष्ट्रिय स्तरमै गएर खेल्न सक्ने लायकका खेलाडी छन्,’ माथागढी, झडेवाका दीपक पन्थीले भने, ‘तर अवसर भने पाउँदैनन् । गाउँमा बस्ने खेलाडीको कुनै वास्ता नै हुँदैन ।’
जिल्लाको ग्रामीण भेगमा प्रायः मगर समुदायको बसोवास छ । भिरालो पहाडको गाउँमा गाउँलेले श्रमदान गरेर बारीको पाटोलाई नै खेलमैदान बनाएर खेल्नुपर्ने बाध्यता छ । दसैंतिहार लाग्यो भने बिदा हुने र भलिबल प्रतियोगिता हुने उनले बताए । सानो ठाउँमा नेट टांगेर भलिबल खेल्न सकिन्छ । फुटबल र क्रिकेटजस्ता खेलका लागि भने ठूलो मैदान आवश्यक पर्छ । ‘जहाँ पनि दुईवटा पोल र नेट टांगेर खेल्न सकिने भएकाले पनि गाउँमा लोकप्रिय छ,’ मस्यामका भलिबल खेलाडी गणेश दर्लामीमगरले भने, ‘हाम्रो गाउँमा मात्रै २८ भन्दा बढी भलिबल टिम होला ।’ ‘एउटै गाउँमा ४–५ टिमसम्म निस्कने भलिबलका खेलाडी छन्,’ उनले भने, ‘तर उनीहरूलाई प्रशिक्षण, सहयोगको खाँचो छ ।’
ग्रामिण भेगमा बारीको पाटो, बाटो, खोली, खोल्साको सानो जमिनमा पोल गाडेर जाली लगाई भलिबल खेल्छन् । ‘युवा मिल्यो भलिबलको कोर्ट बनायो,’ झडेवाका खेलाडी यमबहादुर सारुले भने, ‘सुरु गर्‍यो भलिवल खेल्न । सानैदेखि भलिबल खेल्ने सौख हुन्छ ।’ जिल्लाका अधिकांस स्थानमा खुला, विद्यालय र क्लबस्तरीय प्रतियोगिता भइरहने भएकाले पनि खेलाडी जन्मिछन् । गाउँमा सानादेखि अधबैंशे उमेरका र बुढा हुन लागेकाको समेत रूचि भलिबलमै हुन्छ । विद्यालयको खाजा छुट्टी होस् वा विद्यालय छुटिसकेपछिको समयमा होस् विद्यार्थीको हातमा भलिबल र नेट हुने गर्छ । गाउँमा मनोरञ्जन भनेकै भलिबल हुनेगर्छ । जिल्लास्तरीय प्रतियोगिता, प्रशिक्षणको व्यवस्था भने नभएको मित्यालका अगुवा खेलाडी लालबहादुर सोतीले बताए । जिल्लामा ठूलो धनराशिको प्रतियोगिता नहुँदा भने आफ्नो प्रतिभा देखाउन नसकिएको अवस्था रहेको खेलाडी तथा प्रशिक्षक कृष्णबहादुर आलेको गुनासो छ ।

खेलकुद

पुलिस क्लब च्याम्पियन

- रमेशकुमार पौडेल
जेसिज विकास रनिङ सिल्ड च्याम्पियन पुलिस क्लब । शनिबार फाइनलमा प्रतिस्पर्धा गर्दै चितवन (पहेंलो) र पुलिसका खेलाडी (तल) । तस्बिर ः रमेश/कान्तिपुर

(चितवन) - घरेलु टोली चितवन–११ टाइब्रेकरमा चुक्दा नारायणगढ क्याम्पाचौरमा भएको टुबोर्ग जेसिज विकास रनिङ सिल्ड फुटबलको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबको पोल्टामा पुगेको छ । शनिबार फाइनलमा निर्धारित ९० मिनेटसम्म चितवनले पुलिसलाई कडा चुनौती दियो । गोलरहित बराबरीमा समय सकिएपछि खेल टाइब्रेकरमा पुग्यो । र, पुलिस ४–२ ले विजयी भयो ।
टाइब्रेकरमा चितवनका कप्तान रुमेश बर्तौलाले पहिलो पेनाल्टी प्रहार गरे । जुन गोल नभई बाहिरियो । चार प्रहारमा चितवनका अर्का खेलाडी अश्विन पाख्रिनको प्रहार गोलमा नभएपछि चितवनको उपाधि जित्ने सपना अधुरै रह्यो । पुलिसका चारवटै प्रहार गोलमा परिणत भयो । चितवनका सुधांश महतो र अजय गुरुङले गोल गरेका थिए । पुलिसबाट भरत शाह, सुमन लामा, अजित भण्डारी र हरि कठायतले गोल गरेका थिए ।
पुलिसले ६ लाख ६ हजार ६६६ रुपैयाँ पुरस्कार जित्यो । उपविजेता चितवनले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ पायो ।
सेमिफाइनलमा बलियो विभागीय टोली त्रिभुवन आर्मीलाई २–१ गोलले पराजित गरेर फाइनल भिडन्त पक्का परेको चितवन–११ ले पुलिससँग पनि उत्तिकै स्तरीय खेल खेल्यो । युवा खेलाडी बाहुल्य रहेको चितवनमा अनुभव खड्किएको थियो । पुलिस यो प्रतियोगितामा कुनै पनि गोल नखाई फाइनलसम्म पुगेको टोली हो ।
पुलिसका रवि पासवान प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै २५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भए । कुनै गोल सामना नगरेका पुलिसका शत्रुधन चौधरी उत्कृष्ट गोलरक्षक घोषित भए । उनले १५ हजार पाए । उत्कृष्ट डिफेन्समा चितवन–११ का सुधांश महतो भए । उनले १५ हजार पाए । सर्वाधिक गोलकर्ता ३–३ गोल गरेका चितवनका रुमेश बर्तौला र पुलिसका सुमन लामा बनेका छन् । उनीहरूले संयुक्त रुपमा १५ रुपैयाँको पुरस्कार पाए । प्लेयर अफ द फाइनल पुलिसका मनबहादुर परियार भए । उनले १० हजार रुपैयाँ पाए । जावलाखेल फुटबल क्लबले फेयर प्लेको पुरस्कार पाएको छ ।
विकास सिल्ड समितिले २०३१ सालदेखि नारायणगढ क्याम्पाचौरमा विकास रनिङ सिल्ड गर्दै आएको हो । तर हरेक वर्ष प्रतियोगिता हुन भने सकेको थिएन । ०७४ सालसम्म १३ पटक विकास रनिङ सिल्ड भएको छ । ०७५ सालमा प्रतियोगिता भएन । यसपल्ट नेपाल जेसिज नारायणगढ शाखाले विकास रनिङ सिल्डलाई निरन्तरता दिएको हो ।

खेलकुद

रामेछाप माझी गोल्डकप विजेता

(मकवानपुर) - प्रथम माझी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि रामेछापले जितेको छ । शनिबार मकवानपुरको बकैया गाउँपालिका–४ स्थित जुरेली खेल मैदानमा सिन्धुलीको चुनौतीलाई टाइब्रेकरमा ३–० ले पन्छाउँदै रामेछाप च्याम्पियन भएको हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि नतिजाका लागि टाइब्रेकर सहारा लिइएको थियो । टाइब्रेकरमा रामेछापको तर्फबाट मनोज माझी, अनिल माझी र श्रीकृष्ण माझीले गोल गरेका थिए । सिन्धुलीको तर्फबाट कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । सिन्धुलीका राजेश माझी, विजय माझी र दीपेन्द्र माझीको प्रहारले गोलमा परिणत हुन सकेन । फाइनलमा सिन्धुलीका सुमन माझी म्यान अफ द म्याच घोषित भए ।
माझी समुदायका खेलाडीमात्र सहभागी प्रतियोगिता विजेता
रामेछापले एक लाख र उपविजेता सुनसरीले ५० हजार रुपैयाँ पुरस्कार पाएका थिए । उनीहरूलाई प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले पुरस्कृत गरे ।
सिन्धुलीका प्रकाश माझी उत्कृष्ट डिफेन्डर र विशाल माझी सर्वोत्कृष्ट खेलाडी घोषित भए । रामेछापका श्रीकृष्ण माझी उत्कृष्ट मिडफिल्डर, माइते माझी गोलरक्षक र पूजारी माझी उत्कृष्ट प्रशिक्षक घोषित भए ।
नेपाल माझी उत्थान संघ बकैयाको आयोजनामा कात्तिक १ बाट सुरु प्रतियोगितामा १५ जिल्लाका १७ टिमको सहभागिता थियो । प्रतियोगिता नकआउट आधारमा भएको हो ।

सुवास बिँडारी

खेलकुद

टासीलाई एभरेस्ट गल्फ

- कान्तिपुर संवाददाता
एभरेस्ट गल्फका विजेता टासी छिरिङ दोडसहित अन्य विधाका विजेता ट्रफीसाथ । तस्बिर ः कान्तिपुर

 

काठमाडौं (कास)– टासी छिरिङ दोङले बाह्रखरी एभरेस्ट गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ कोर्समा शनिबार सम्पन्न प्रतियोगितामा टासीले ३९ स्कोर गरेर उपाधि जिते । पूर्व फुटबल खेलाडी टासीले काउन्ट ब्याकमा रवीन्द्र तिवारीलाई पछि पार्दै चर्चित गोल्डेन बल पुरस्कार पाए । रवीन्द्रले पनि ३९ स्कोर नै गरेका थिए ।
सुरेन्द्र फुयालले वेस्ट ग्रसको उपाधि जिते । उनले ३४ स्कोर गरेका थिए । महिलातर्फ काश्मिरा शाह विजयी भइन् । उनले ३६ स्कोर गरेकी हुन् । सिनियरतर्फ महेशविक्रम कार्कीले उपाधि जितेका छन् । ६० वर्षभन्दा माथिको उमेर समूहबाट उनले ३८ स्कोर गरेका थिए । समग्रमा उनी तेस्रो स्थानमा रहे ।
जुनियर १७ वर्षमुनि श्रीयोग बस्नेत विजेता भए । उनले ३१ स्कोर गरे । लङ्गेस्ट ड्राइभ विजय श्रेष्ठले जिते । क्लोजेस्ट टु द पिन स्टेफनी मेन्दी वीले जितिन् । मोस्ट बड्रिजको उपाधि पनि गोल्डेन बल विजेता टासी दोङले नै जितेका छन् । विजेतालाई संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईलगायतले पुरस्कृत गरे ।

Page 12
खेलकुद

सिटीको प्रभाव

म्यानचेस्टर – एस्टन भिल्लालाई ३–० ले पराजित गरी महत्त्वपूर्ण ३ अंक जोडेको म्यानचेस्टर सिटीले प्रिमियर लिग लिडर लिभरपुलसँगको दूरी छोट्याएको छ । सिटीको १० खेलबाट २२ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलसँग २४ अंक छ ।
पेप ग्वार्डिवाला प्रशिक्षित सिटीले घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा रहिम स्टर्लिङ, केभिन डी ब्रुयन र इल्के गुन्डोगानले गोल गरेपछि एस्टन भिल्ला निरीह बन्यो । प्रिमियर लिगमा लगातार दोस्रो जितपछि लेस्टरलाई पछि पार्दै सिटी दोस्रो स्थानमा उक्लिएको मात्र होइन शीर्षस्थानको लिभरपुलमाथि दबाब कायम गरेको छ । लिभरपुलले आइतबार एनफिल्डमा टोटेनहमसँग खेल्दै छ ।
ग्वार्डिओलाका लागि एकमात्र निराशाको क्षण फर्नान्डिन्होको रातो कार्ड रह्यो । केनन डेभिसमाथि फाउल गरेका फर्नान्डिन्होलाई खेलको ८७ औं मिनेटमा दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाहिर पठाइएको थियो ।
सिटीले पछिल्लो इतिहाद रंगशालामा भएको पछिल्लो खेलमा वोल्भ्ससँग २–० ले हराएको थियो । ग्वार्डिओलाले प्रशिक्षण सम्हालेपछि सिटी घरेलु मैदानमा लगातार पराजित भएको छैन । स्टर्लिङले यो प्रभावशाली लयलाई कमजोर हुन नदिन स्टर्लिङको प्रदर्शन विशेष रह्यो । च्याम्पियन्स लिगमा एटलान्टामाथि ह्याट्रिक पूरा गरेको केही दिनपछि प्रिमियर लिगमा पनि उनले आफ्नो प्रभाव उस्तै राखे ।
इंग्लिस विंगर स्टर्लिङ पछिल्लो १८ महिनामा आफूलाई वास्तविक सुपरस्टार प्रमाणित गर्ने चरणमा छन् । उनको चातुर्य र आक्रामक प्रदर्शनसामु एस्टन भिल्लाको रक्षापंक्ति कमजोर देखियो । सिटीले जारी सिजन ३२ गोल गरेको छ । जुन शीर्ष टोली लिभरपुलभन्दा ११ गोल बढी हो । एस्टन भिल्लाविरुद्ध उसले आफ्ना कीर्तिमानी गोलकर्ता सर्जियो अगुइरोलाई भने सुरुआती टिममा मैदान उतारेको थिएन ।
डिसेम्बरपछि पहिलोपल्ट गाब्रियल जेससले सिटीको सुरुआती टिममा लगातार स्थान बनाए । तर स्टर्लिङको पासमा नजिकको दूरीबाट पाएको अवसर सदुपयोग गर्न नसकेपछि सिटी पहिलो हाफमा अग्रता लिन चुक्यो । यो सिजन सिटीका ११ भन्दा बढी खेलाडी चोटग्रस्त छन् । हालै अलेक्जेन्डर जिन्चेन्को र रोड्री पनि केही साताका लागि टिमबाट बाहिरिएका छन् ।
ग्वार्डिओलाले सिटीले कस्तो प्रदर्शन गर्नेछ भनेर चिन्तित रहेको स्वीकारे । तर उनीसँग स्टर्लिङ थिए । सबै कुरा सम्भव थियो । पहिलो हाफमा स्टर्लिङले एउटा पेनाल्टीको अपील गरेका थिए । उनको प्रहार जोर्न एङगेल्सको पाखुरामा लाग्यो । त्यसलगत्तै उनको हेडर पोलको नजिकैबाट बाहिरिएको थियो ।
दोस्रो हाफको पहिलो मिनेटमै सिटीलाई स्टर्लिङले अग्रता दिलाए । सिटीका गोलरक्षक एडरसनको लामो प्रहार विपक्षी बक्सबाहिरबाट जेससले फ्लिक गरी स्टर्लिङलाई उपलब्ध गराए । स्टर्लिङले त्यहाँ कुनै गल्ती गरेनन् । उनले यो सिजन १४ खेलमा १३ औं गोल गरेका हुन् ।
सिटीले केही समयमै अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । एस्टनका डिफेन्डर एङगेल्सको गल्तीमा स्लर्टिङले भेट्टाएको बल जेससलाई पास दिएका थिए । उनको प्रहार गोलरक्षक ट्र्योन मिंग्सले सानदार बचाउ गरे ।
तर ग्वार्डिओलाको टिमलाई यसले केही फरक पारेन । टोली ५ मिनेट अन्तरमा थप २ गोल गर्न सफल भयो । ६५ औं मिनेटमा स्टर्लिङ र डेविड सिल्भाले मिलाइदिएको पासमा डे ब्रुयनेले स्वीङ क्रसमार्फत उत्कृष्ट गोल गरे । अफसाइडको अपील भएपछि भिडियो असिस्टेन्ट रेफ्री (भार) सँगको लामो समीक्षापछि यो गोलले आधिकारिकता पाएको थियो । ७० औं मिनेटमा गुन्डोगानले ३–० को जित निश्चित गरे ।

खेलकुद

लेस्टरको कीर्तिमान

- एएफपी
कीर्तिमानी जित पाएको खेलमा गोल गरेपछि लेस्टरका जेम्स म्याडिसन र बेन चिलवेल । तस्बिर ः रोयटर्स

साउथह्याम्पटन – लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोजर्सले शुक्रबार राति प्रिमियर लिगमा साउथह्याम्पटनविरुद्ध ९–० को कीर्तिमानी जित पाएपछि आफ्नो टिमलाई ‘क्रुर’ रहेको चित्रण गरेका छन् । साउथह्याम्पटनका प्रशिक्षक राल्फ हसेनहुट्टलले भने हारको जिम्मेवारी आफैंले लिए ।
आयोज पेरेज र जेमी भार्डीले ह्याट्रिकसहित ऐतिहासिक जितपछि लेस्टर अंकतालिकाको दोस्रो स्थानमा पुग्यो । लेस्टरको यो जित प्रिमियर लिगमा फराकिलो गोलअन्तरको कीर्तिमानसँग बराबरी हो । सन् १९९५ मा म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफोर्डमा इप्सबीचविरुद्ध ९–० को जित निकाल्दै कीर्तिमान बनाएको थियो ।
‘हामी क्रुर भयौं । यस्तो टिमको प्रशिक्षकका रूपमा उभिन पाउँदा मैले गर्व महसुस गरिरहेको छु,’ खेल सकिएपछि सेन्ट मेरिज रंगशालामा लेस्टरका प्रशिक्षक रोजर्सले भने, ‘राम्रो टिमले कहिल्यै पनि हार मान्दैन । हामीले देखाउन चाहेका थियौं कि हामी कमजोर छैनौं । निश्चित रूपमा हामीले दोस्रो हाफमा पनि त्यस्तै प्रदर्शन निरन्तर गर्न सक्यौं ।’
‘हाम्रो खेल निकै सरल थियो । जब तपाईले धेरै गोलको अग्रता लिनुहुन्छ तब स्वाभाविक रूपमा स्लो खेल्नुहुन्छ । हामीले खेलमा मात्र ध्यान केन्द्रित गर्न सक्यौं । हामी एक शीर्ष टिम बनाउन चहन्छौं र शीर्षमै रहन चाहन्छौं, त्यसका लागि यस्तै खालको प्रदर्शन जरुरी हुन्छ,’ रोजर्सले भने ।
साउथह्याम्पटनका प्रशिक्षक हसेनहुट्टलले आफ्नो टिम रेलिगेसन जोनमा रहेको देखेका छन् । तर १० मिनेटपछि रायन बर्ट्रान्डले रातो कार्ड पाएपछि स्थितिलाई उनले सहज रूपमा लिए । ‘हाम्रो प्रदर्शन यस्तो भयानक रह्यो कि त्यसका लागि म माफी माग्छु र सम्पूर्ण हारको शतप्रतिशत दोष म लिन्छु,’ उनले भने ।

 लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोजर्स । 


साउथह्याम्पटनका मिडफिल्डर नाथान रेडमन्डले भने, ‘यो एउटा लज्जास्पद प्रदर्शन थियो, निकै खराब सपनाजस्तो ।’ जितपछि लेस्टर शीर्षस्थानको लिभरपुलसँग दूरी ५ अंकमा झारेको छ ।
प्रिमियर लिगको १ सय ३१ वर्षे इतिहासमा लिसेस्टरले सबैभन्दा फराकिलो अन्तरको अवे जित हासिल गरेर कीर्तिमान बनाएको हो । साउथह्याम्पटनलाई धराशयी बनाउने कामको सुरुआत खेलको दसौं मिनेटमा रिबाउन्ड बलमा गोल गर्दै बेन चिलवेलले गरेका थिए । भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहयोगमा बर्ट्रान्डले रातो कार्ड पाएपछि साउथह्याम्पटनको स्थिति अझै भयानक बन्यो । पेरेजलाई खराब ट्याकल गरेकोमा बर्ट्रान्डलाई रातो कार्ड देखाइएको थियो ।
युरी टेलिम्यान्स र पेरेजको सटिक गोलपछि १० खेलाडीमा समेटिएको निरीह साउथ ह्याम्पटनबिरुद्ध लेस्टरले २० मिनेटभित्रै ३–० को अग्रता बनाएको थियो । पहिलो हाफ सकिनु ७ मिनेटअघि पेरेजले चिलवेलको पासमा गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा सुपरस्टार भार्डीले गोलको खाता खोले र पहिलो हाफमा ५–० को अग्रता बनाए । सन् १९८४ पछि प्रिमियर लिगको पहिलो हाफमै ५ गोल भएको पहिलोपल्ट हो ।
पहिलो हाफमा फराकिलो अग्रता बनाउनुका बाबजुद दोस्रो हाफमा पनि लेस्टरको गोल वर्षा रोकिएन । ६० मिनेटभित्रमा लेस्टरले ७–० को अग्रता बनाइसकेको थियो । पेरेजले ह्याट्रिक गर्ने क्रममा हर्वे बर्नेसको लामो थ्रो सदुपयोग गरी ह्याट्रिक पूरा गरे । त्यसको केही समयमै भार्डीले चिलवेलको सटिक क्रस उपयोग गरे ।

एस्टन भिल्लाविरुद्ध पहिलो गोल गरेपछि म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ  ।

खेलको ७ मिनेट बाँकी छँदा जेम्स म्याडिसनले टिमका लागि कीर्तिमानी अवे गोल गरे । उनको सानदार फ्रिकिक साउथह्याम्पटनका हतासमा गोलरक्षक एङगस गनले क्लियर गर्नै सकेनन् । र भार्डीले इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गरी लेस्टरलाई कीर्तिमानी जित दिलाए । जान बेडन्रेकको फाउलमा प्राप्त पेनाल्टी अवसरलाई भार्डीले सदुपयोग गरेका थिए ।

खेलकुद

कराँते टोली दुई देशको भ्रमणमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण तयारीलाई नेपाली कराँते टोली आइतबार मलेसियाको क्वालालम्पुर जाने भएको छ । २९ खेलाडीसहित ३३ सदस्यीय टोली पहिले प्रशिक्षणका लागि मलेसिया जानेछ ।
त्यसपछि टोली पाँचौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप खेल्न नोभेम्बर ५ मा बंगलादेशको ढाका पुग्नेछ । प्रतियोगिता ढाकामा नोभेम्बर ७ देखि ९ सम्म हुनेछ । टोली नोभेम्बर १० मा नेपाल फर्कने कार्यक्रम छ ।
पुरुष खेलाडीमा मन्देकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर, सोनाम लामा, लक्ष्मण तामाङ, राजीव पुडासैनी, राजकुमार रसाइली, नवीन रसाइली, अर्जुन चन्द, गंगाराम कुसुवार, मुकुन्द्र महर्जन, दिवस श्रेष्ठ, सुशील पौडेल, विप्लवलाल श्रेष्ठ र लेखनाथ मैनाली छन् । महिलातर्फ निर्मला तामाङ, सरु कार्की, संगीता मगर, चन्चला दनुवार, कुसुम खड्का, अनु अधिकारी, मनीषा चौधरी, सुस्मिता वाइबा, अनु गुरुङ, एस्टर राई, सुनीता महर्जन, सनी तामाङ, अनुपमा मगर र रीता कार्की छन् । खेलाडीले व्यक्तिगत र टिम कुमुते तथा कातामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा गंगाराम महर्जन र राजेश श्रेष्ठ तथा व्यवस्थापकमा मिङ्मार शेर्पा र राजेन्द्र बराल छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शनिबार बिदाइ गरे ।
फेन्सिङ थाइल्यान्ड जाने
१३ औं साग तयारीका लागि नेपाली फेन्सिङ टोली थाइल्यान्डको बैंकक जाने भएको छ । नेपालले एउटा प्रतियोगिता खेल्नेछ भने त्यसपछि प्रशिक्षणमा कार्यक्रममा सहभागिता जनाउने छ ।
नेपाली खेलाडीले नोभेम्बर १ देखि ३ सम्म हुने चुलालङकन युनिभर्सिटी ओपन फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । खेलाडीमा ओमकार, दीपेन्द्र विष्ट, सागर थापा, जलिन्द्रबहादुर शाही, राजनराज खड्का, ज्ञानेन्द्र तिमिल्सिना, अमित भण्डारी, राजेन्द्र गजुरेल, पायास योञ्जन, गोमा आचार्य, अन्जु तामाङ, अनिता अधिकारी, रमा सिंह, कमला श्रेष्ठ, अस्मिता श्रेष्ठ, शिक्षा नापित, रविना थापा, इन्दिरा पौडेल, जानुका स्याङतान, अनिता कार्की, राजेन्द्र श्रेष्ठ, राकेश महर्जन, दिनेश पाण्डे र सीता पाठक छन् । प्रशिक्षण नोभेम्बर ५ देखि २० सम्म चल्नेछ ।
प्रशिक्षकमा अभिषेक कार्की, संजीप लामा र जंग गिरी तथा टिम व्यवस्थापकमा अनुप कपाली छन् । खेलाडीमध्ये जलिन्द्र र इन्दिरा प्रतियोगितामा सहभागी हुन पाउने छैनन् । दुवै हाल वर्ल्ड मिलिटरी गेम्सका लागि चीनमा छन् । प्रशिक्षणमा भने उनीहरू सहभागी हुने छन् । टोली दुई चरणमा अक्टोबर २९ र ३० त्यतसर्फ जानेछ ।
नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठले सागमा व्यक्तितर्फ स्वर्ण, रजत र कांस्य जित्नेलाई क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने घोषणा गरेका छन् । टिममा स्वर्णलाई २ लाख, रजतलाई १ लाख र कांस्यलाई ४० हजार दिने घोषणा गरे ।

खेलकुद

अल फुटबललाई सुजन मेमोरियल

- कान्तिपुर संवाददाता
राजधानीमा आयोजित सुजन मेमोरियल फुटबल विजेता अल फुटबल प्ले टिम ट्रफीसहित ।तस्बिर ः कान्तिपुर

 

काठमाडौं (कास)– अल फुटबल प्ले डटकमले यसवर्षको सुजन मेमोरियल सिक्स–ए–साइड कप फुटबलको उपाधि जितेको छ ।
सोह्रखुट्टे टाउन प्लानिङमा शनिबारको फाइनलमा प्ले डटकमले टुँडिखेल–११ लाई टाइब्रेकरमा २–१ ले हरायो । समाज कल्याण खेलकुद केन्द्र क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा निर्धारित समय गोलरहित बनेको थियो । आयोजक केन्द्रका सचिव सरोज मर्हजनका अनुसार म्यान अफ द फाइनल टुँडिखेलका राज शाही भए । विजेताका अमित लामा उत्कृष्ट खेलाडी चुनिए । ८ गोल गरेका नागार्जुन–६ का नीरव खड्का सर्वाधिक गोलकर्ता भए । विजेतालाई ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार पाए ।

खेलकुद

सिलेन र अंकिता उत्कृष्ट बक्सर

- कान्तिपुर संवाददाता

मकवानपुर(कास)– दसौं जिल्लास्तरीय पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा सिलेन वाइबा र अंकिता उत्कृष्ट बक्सर भएका छन् । शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ सिलेन र महिलातर्फ अंकिता उत्कृष्ट बक्सरबाट सम्मानित भएका हुन् । पिप्ले युवा क्लबद्वारा आयोजित प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ दुई तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
पुरुषतर्फ ६४ केजीमा बुद्ध लामा, ६० केजीमा कृष्ण भोम्जन, ५६ केजीमा सीताराम काफ्ले, ५२ केजीमा महेन्द्र राई, ४९ केजीमा विक्रम राई, ४० केजीमा स्वीकार कुवँर, ३५ केजीमा झलक स्याङ्तान, ३० केजीमा सिलेन वाइबा, २५ केजीमा सुदीन चौलागाईं तथा २० केजी तौलमा विकल्प गौतमले स्वर्ण पदक जितेका थिए ।
महिलातर्फ ५२ केजी तौलमा अंकिता श्रेष्ठ र ४९ केजी तौल समूहमा पूर्णिमा भण्डारीले स्वर्ण जितेका थिए । विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो ।

खेलकुद

पूर्णविरामतर्फ धोनी युग

- एएफपी

नयाँ दिल्ली – भारतीय प्रमुख छनोटकर्ताले दिएको संकेत मान्ने हो भने महेन्द्रसिंह धोनीको लोभलाग्दो अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लाग्दैछ । ती छनोटकर्ताले बिहीबार भनेका छन्, ‘भारतीय टिम अब अगाडि बढ्ने छ । टोलीको नीति हुनेछ, नयाँ युवा खेलाडीलाई मौका दिने ।’
पूर्व कप्तान तथा एकदिवसीय क्रिकेटका विशेषज्ञ धोनीले जुलाईको विश्वकपपछि भारतका लागि खेलेका छैनन् । धेरैको अनुमान के छ भने ३८ वर्षीय धोनीले ढिलो चाँडै संन्यास लिनेछन् । भारतले अब बंगलादेशविरुद्ध अर्को महिना तीन ट्वान्टी–२० को शृंखला खेल्दै छ । त्यसका लागि घोषित टिममा धोनी छैनन् ।
दक्षिण अफ्रिकाविरुद्ध हालै टुंगेको शृंखलामा पनि उनको कुनै भूमिका रहेन । भारतीय टिमको छनोट कमिटीका प्रमुख एमएसके प्रसादले टिमको विकेटकिपर भूमिकामा नयाँ खेलाडीलाई नै मौका दिने नीति भएको बताए । उनको स्पष्ट संकेत ऋषभ पन्ततर्फ थियो । ‘विश्वकप पछि हाम्रो सम्पूर्ण ध्यान ऋषभ पन्तमै केन्द्रित छ,’ प्रसादले पीटीआईलाई बताएका छन् ।
उनले यो धोनीको भविष्यलाई लिएर सोधिएको प्रश्नमा दिएका थिए । उनले भने, ‘विश्वकपपछि हामी अगाडि बढ्न चाहन्छौं । हाम्रो ध्यान युवा खेलाडीमा हुनेछ र तिनलाई टिममा स्थापित गर्ने हुनेछ ।’ सन् २०११ को विश्वकपमा नेतृत्व गर्दै भारतलाई विश्वकप दिलाएपछि धोनी नयाँ नायक साबित भएका थिए ।
धोनीले सन् २०१४ मै टेस्ट क्रिकेटबाट संन्यास लिएका थिए । ९० खेलमा ४ हजार ८ सय ७६ रन बनाएका थिए । यिनै धोनीले एकदिवसीय क्रिकेटमा भने ३ सय ५० खेल खेलेर १० हजार ७ सय ७३ रन बनाएका छन् । पछिल्लो विश्वकपमा उनले राम्रो गर्न सकेनन् र भारत सेमिफाइनलबाटै बाहिरिएको थियो । ‘कप्तान कुल’ को उपनाम पाएका धोनीले भारतका लागि तीनै ढाँचाको क्रिकेटमा नेतृत्व गरे ।
उनको आगमनले टिमको अन्तिम समयसम्म संघर्ष गर्ने बानी बसेको थियो । तर भारतीय क्रिकेट प्रमुखमा सौरभ गांगुलीको उदय र टिममा विराट कोहलीको पकडपछि धोनीको संन्यास उनले घोषणा गर्नमात्र बाँकी रहेको स्थिति बनेको छ । ‘अब आफ्नो भविष्यबारे धोनीले मात्र अन्तिम निर्णय गर्न सक्छन्,’ प्रसादले भने, ‘हामीले भारतीय क्रिकेटको भविष्यलाई लिएर खास योजना बनाएका छौं र त्यसैअनुसार टिम बनाउने छौं ।’

 

Page 13
कोपिला

प्रकृति चिनाउने तिहार

- गोविन्द पोखरेल

 

तिहार कस्तो पर्व हो ? काग, कुकुर, गाई, लक्ष्मी, गोरूको पूजा र भाइटीका सम्झेर केके गर्छौं भनेर हामी भन्न सक्छौं । साथमा देउसी र भैलो खेल्ने कुरा पनि छुटाउँदैनौं । दसैं, तिहारजस्ता चाडपर्वहरू मनाउने तरिका फरक छन् । यी बेला हामीले खाने परिकार पनि फरकफरक छन् ।
चाडपर्वहरू स्कुल छुट्टी हुने भएकाले खुसी मान्नुपर्ने समय मात्रै होइन । सबै धर्म, संस्कृतिमा चाडपर्वका आआफ्नै महत्त्व र बुझ्नैपर्ने सन्देश लुकेका हुन्छन् ।
तिहारलाई विज्ञानसँग जोडेर हेर्ने हो भने यो पर्वले हामीलाई प्रकृतिप्रेम सिकाउँछ । तिहारमा पूजा गरिने पन्छी र जनावरको आ–आफ्नै महत्त्व छ ।
तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई पुज्नु भनेको सबैं पन्छीप्रतिको प्रेम हो । काग एउटा महत्त्वपूर्ण पन्छी हो । यसले वातावरण सफा राख्न हामीलाई सघाएको हुन्छ । कागले सिनो र यत्रतत्र मिल्किएका खानेकुरा खान्छ । समूहमा बस्छ । शत्रु आए कागले मिलेर धपाउँछन् । कागको आवाज सुरिलो हुँदैन, त्यसैले यो कराएको हामीलाई मन नपर्नु स्वाभाविक छ । तर, जोखिमका अवस्थामा कागले कराएर सबै पशुपन्छीलाई सावधान गराउँछन् । त्यसैले कागबाट सिक्ने र सचेत हुने सन्देश पाइन्छ । कागले एकपटक चिनेको अनुहार हत्तपत्त नबिर्सने अध्ययनहरूले पनि देखाएका छन् । एउटा काग मर्दा थुप्रै कागहरू आएर घेरिएर बस्छन् र त्यो काग कसरी मर्‍यो भन्दै मृत्युको कारण खोज्छन् । कागको यिनै विशेषताले अरू पन्छीभन्दा अलि भिन्न छ ।
तिहारको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । हामीमध्ये धेरैलाई कुकुर मन पर्छ । कति जनाको त घरमै पालिएको पनि होला । मानिससँग कुकुरको नाता सदियौंदेखि सुरु भएको हो । मान्छेले घर बनाउन, समूहमा बस्न, लुगा लगाउन सिक्दै गर्दादेखि नै आफ्ना लागि अरू जनावरको सिकार गर्न कुकुरलाई अघि लगाउँथ्यो । बैज्ञानिकहरूले मानिसको सभ्यता विकासक्रम सँगसँगै कुकुरसँगको सम्बन्धलाई व्याख्या गर्छन् । इमानदारिता र मान्छेप्रतिको भक्ति कुकुर हामीलाई मन पर्नुको बलियो कारण हो । कुनै पनि कुरा सुँघेर पत्ता लगाउने क्षमताका कारण कुकुर प्रहरी र सेनाले गर्ने अनुसन्धानमा सबैभन्दा भरपर्दा साथी मानिन्छन् ।

घरमा पालेका कुकुरले आफ्नो मान्छे र बाहिरी प्रस्ट चिन्छन् । हामीलाई सुरक्षा दिन्छन् । मानिसले सुन्ने आवाजको दूरीभन्दा चार गुणा टाढाबाट कुकुरले सुन्न सक्छन् । अन्तरिक्षमा पुग्ने पहिलो जीव कुकुर हो । सोभियत संघले निर्माण गरेको स्पुतनिक–२ नामक यानमा आजभन्दा ६२ वर्षअघि लाइका नामको कुकुरलाई अन्तरिक्षमा पठाइएको थियो ।
तिहारको पुजिने अर्को जनावर हो गाई । परापूर्वकालदेखि मान्छेले गाई पाल्दै आएका छन् । गाईले दूध दिन्छ, गाईले गोब्र्याउँछ । दूध र गोबर दुवै हाम्रा लागि काम लाग्ने कुरा हुन् । गाईको दूध मान्छेका लागि पोसिलो भएजस्तै माटोका लागि गोबर मल पोसिलो मानिन्छ । सहरबजारमा ठाउँ नभएकाले मान्छेले गाईवस्तु पाल्न छाडे पनि दूध र त्यसबाट बन्ने कुराउनी, दही र घ्यू खान छाडेका छैनन् । गाउँका घरघरबाट सहकारी संस्थाहरू र किसानले डेरी उद्योगहरूमा पुर्‍याएको दूध नै हामीले प्याकेटमा बजारमा किन्न पाएका छौं ।
सूर्यबाट पृथ्वीमा आउने विभिन्न हानिकारक विकरणलाई गाईले सोस्ने काम गरेर वायुमण्डलाई स्वच्छ बनाउन मद्दत पुर्‍याउँछ । गोबर मलका रूपमा खेतबारीमा उपयोग हुन्छ । गाई पालेकाहरूले गोठ छेउमा प्लान्ट राखेर त्यसबाट निस्कने ग्यासबाट खाना पकाउने र बत्ती बाल्ने पनि गरिरहेका छन् । ग्यास प्लान्ट राख्नेले नराख्नेका तुलनामा दोहोरो फाइदा लिन सक्छन् । दूधबाट बनाइने घ्यूमा उच्च पौष्टिक तत्त्व हुन्छन् । गाईको दूधमा पोसिलो तत्त्व बढी हुने भएकाले शिशुहरूलाई पनि ख्वाइन्छ ।
तिहारमा धनकी देवी भनेर लक्ष्मीको पूजा गरिन्छ । सफासुग्घर घरमा लक्ष्मी आउँछिन् भनिन्छ । वास्तवमा सफा सुग्घर हुँदा हामीलाई रोगव्याधिले भेट्दैन । बिरामी नपरे खर्च हुँदैन । पैसाको बचतबाट थुप्रै काम गर्न सकिन्छ । चाहिएका कुरा किन्न सकिन्छ । आम्दानी दिने क्षेत्रमा लगानी गर्न सकिन्छ । त्यसैले धार्मिक हिसाबले गरिने पूजाको पनि अर्थ गहिरो छ ।
तिहारमा पुजिने जनावर गोरु पनि हो । विभिन्न मुलुकमा गाईगोरुको समूहले वनलाई डढेलो लाग्नबाट जोगाउँदै आएका छन् । यिनीहरू घाँस खान्छन् । वर्षमा एकपटक बढ्ने घाँस पुनः काट्न पर्छ कि जमिन जोत्नुपर्छ । त्यसो गरिएन भने घाँस सुक्छन् । सुकेका घाँसमा छिटो आगो लाग्छ । खुला चरिचरनमा छाडिने गाईगोरुले घाँस खाइदिएर आगलागीको जोखिमलाई कम गरेका हुन्छन् । गोरुलाई मानिसले खेत जोत्न र गोरु गाडा चलाउनका लागि प्रयोग गर्दै आएका हुन् । विभिन्न प्रकारका गाडीको विकास अगाडि गोरुको धेरै प्रयोग हुन्थ्यो । सडकमा टायरगाडा र खेत जोत्दा अब गोरुको प्रयोग भएको निकै कम देखिन थाले पनि यो जनावरको महत्त्व घटेको छैन । गोरु घोडाले भन्दा लामो समयसम्म हिँड्न सक्छ । प्रतिकूल मौसममा पनि धेरै सामानहरू बोक्ने भएकाले यसलाई मानिसले प्रयोग गर्दै आएका हुन् । सडक नपुगेका र ट्याक्टर चलाउन नसकिने खेतबारी जोत्न गोरु नभई हुँदैन ।
तिहारमा गोबर्धन पर्वतलाई पुजिन्छ । पर्वत अर्थात् पहाड । पर्वत पानीको स्रोत पनि हो । मध्य एसियाबाट उत्तर बहने चिसो हावालाई पर्वत शृंखलाले छेकिदिन्छ । यसबाट निस्किएका नदीले मलिलो तराईतर्फ माटो ओसार्छन् । तटीय क्षेत्रमा बसोबास गर्नेहरूले पर्वतबाट निस्किएका नदीमा भर पर्छर्न् । हिमालय पर्यटन आकर्षणको केन्द्र पनि हो । जलविद्युत् निर्माण तथा विभिन्न प्रकारका खनिजहरू पहाडी क्षेत्रमा पाइन्छ । तिहारमा गाईको गोबरलाई पर्वतजस्तो बनाएर पुजिन्छ । यसले हिमाल र पहाडप्रतिको हामो श्रद्धा दर्साउने गरेको छ ।


लक्ष्मीपूजाका दिन भैली र गोरु तिहारका दिन देउसी खेल्ने चलन छ । समूहमा खेलिने भएकाले देउसीभैलीले आपसमा मित्रता राख्नुपर्ने सन्देश दिन्छ । मित्रता राखिएन भने एक्लै परिन्छ, एक्लै देउसीभैली खेलिँदैन । भट्याउन सुरिलो स्वर हुनुका साथै सिर्जनशील हुन जरुरी हुन्छ । त्यसैले समूहमा परस्पर यस्ता प्रतिभाको खोजी हुन्छ । गाउन जान्नेले गाउने र बजाउन जान्नेले बजाउने भएकाले देउसीभैलीले हाम्रा बीचमा के कस्ता प्रतिभाहरू रहेछन् भन्ने जान्न र तिनलाई प्रष्फुटन गराउन सघाउँछ ।
तिहारको अन्तिम दिन हो भाइटीका । भाइटीका दाजुभाइ र दिदीबहिनीबीच मायाममता बढाउने दिन हो । तिहारका पौराणिक कथाहरूले जे भने पनि धेरै दिनसम्म भेटघाट गर्न नपाएका दाजुभाइ, दिदीबहिनी यो दिनका लागि अनिवार्य उपस्थित हुन्छन् । आपसमा सुखदुःखका कुराकानी हुन्छन् । आपसमा मद्दत गर्ने अवसर मिल्छ । माइती र चेलीको सम्बन्ध प्रगाढ बनाउन यो दिनले विशेष महत्त्व राखेको छ । यो दिनमा लगाइने टीकामा प्रयोग गरिने वस्तु सबै वनस्पतिबाटै बनाइएका हुन्छन् । तिहारमा खाने परिकारले जाडोयामका लागि हाम्रो शरीरको रोग प्र्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । गाउँघर सफा र चिटिक्क पारिँदा रोगकीराको डर मान्नुपर्दैन ।

Page 14
Page 15
कोपिला

क्रिकेट मोह

- कान्तिपुर संवाददाता

पोखरा रंगशालाको क्रिकेट मैदानमा बिहीबार पुग्दा क्रिकेट सिक्दै गरेका बालकहरू भेटिए । उत्तरतर्फ सेतै टल्कने हिमशृंखला नियाल्दै क्रिकेट खेल्न पाउँदा उनीहरू उत्साहित थिए । विभिन्न विद्यालयमा अध्ययनरत उनीहरू नियमित क्रिकेट सिक्छन् । उनीहरूलाई रिजन प्रजु, जिम्मी गुरुङ र विष्णुप्रसाद शर्माले सहजीकरण गरिरहेका छन् ।
त्यहाँ क्रिकेट सिक्ने ६ देखि १६ वर्ष उमेर समूहका ६० जनासम्म हुन्छन् । बिहान ६ देखि ८ बजेसम्म र दिउँसो साढे ३ देखि साँझ साढे ६ बजेसम्म सिकाइने प्रशिक्षक जिम्मी गुरुङले बताए । आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पनि सिकाइने उनले जनाए ।
तीन वर्षदेखि क्रिकेट खेल्न थालेका अलभ्य पहारीले नियमित सहभागी भएको डेढ वर्ष भयो । उनी अस्ट्रेलियन क्रिकेट खेलाडी ग्लेन जेम्स म्याक्सवेलबाट प्रभावित छन् । सफल क्रिकेटर बन्ने सपना बुनेका उनी त्यसैका लागि मिहिनेत गर्दै छन् । त्यहीँ क्रिकेट सिक्दै गरेका सोयल कुँवर ११ वर्षका भए । उनले ४ वर्षको उमेरदेखि नै सिक्न थालेका हुन् । हाल ६ कक्षामा अध्ययनरत उनले विभिन्न प्रतियोगितामा भाग लिएर अनुभव संगालिसकेका छन् । आदित्यदेव प्रजुले कक्षा ३ मा पढ्दादेखि क्रिकेट खेल्न थालेका हुन् । नेसनल लेबलको क्रिकेटर बन्ने उनको लक्ष्य छ । १२ वर्षका अंश तुलाचन ७ कक्षामा पढ्छन् । उनले क्रिकेट खेल्न थालेको २ वर्ष भयो । भारतीय क्रिकेटर रवीन्द्र जडेजाका फ्यान उनलाई ब्याटिङ गर्न बढी मनपर्छ । ११ वर्षका अर्नव तुलाचन पनि ब्याटिङ गर्न मन पराउँछन् । उनले सिक्न थालेको २ वर्ष भयो । उनी नेपाली क्रिकेटर सन्दिप लामिछानेबाट प्रभावित छन् । ६ कक्षामा अध्ययनरत उनको ध्यान सफल क्रिकेटर बन्नेछ । त्यहाँ भेटिएका रोशन न्यौपाने ६ वर्षदेखि क्रिकेट खेल्दै छन् । अलराउन्डर बन्दै क्रिकेटमा स्थापित हुने रहर उनको हो ।
यहाँ बालबालिकालाई उनीहरूको खेलस्तरअनुसार सिकाइन्छ । कोण राख्न, डिफेन्स गर्न, बलिङ गर्न, फिल्डिङ गर्न, बललाई एक्सन मिलाउन, नेटमा हान्न, ड्रिल गर्न, ब्याटिङ गर्न मात्र नभएर उनीहरूको फिजिकल फिटनेसलाई मिलाउन त्यहीअनुसार व्यायम गराइन्छ । यसरी प्राटिक्स गर्दा राम्रो गर्दै जाने खेलाडीलाई सेलेक्सन गर्ने, क्याम्पमा राख्ने र खेल खेल्न अवसर प्रदान गरिन्छ । खुला मैदानमा, नेटमा अनि पिचमा प्राक्टिक्स गरिसकेपछि उनीहरूमा निखारता थपिँदै जान्छ । बिहीबार त्यहाँ पुग्दा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी करण केसी सोही मैदानमा प्राटिक्स गर्दै थिए । अग्रजहरूको खेल हेरेर पनि बालबालिकाले धेरै कुरा सिक्न सक्छन् ।
राजाराम पौडेल

Page 16
कोपिला

रमाइलो तिहार

- कान्तिपुर संवाददाता

झिलीमिली बालेर बत्ती पालामा
हुन्छ तिहार उज्यालो अहिले सालमा ।

कागलाई र कुकुरलाई, गोरुगाईलाई
पूजा गर्छन् दाजुभाइलाई, लक्ष्मी माईलाई
स्यानी बैनी सोच्दै छे बसी झ्यालमा
‘मेरो पूजा कुन दिन हो ?’ अहिले सालमा ।

दाजुभाइ देउसी खेल्छन्, नाच्छन्, रमाउँछन्
भैलो खेल्छन् दिदीबैनी पैसा कमाउँछन्
भैलेनीलाई दक्षिणा खोपे थालमा
पैसा कति बटुल्ने हुन् अहिले सालमा ।

धनको चाड भनेर धनकै मेलो छ
जता हेर्‍यो पैसाकै छेलो–खेलो छ
जुवा खेल्ने जुवाडे बसे खालमा
नखेले नि हुन्थ्यो जुवा अहिले सालमा ।

दाउरा राखी ओदानमा आगो बालेर
पिठो मुछी आमाले दाउन हालेर
रोटी पकाई थुपार्छिन् डाला–डालामा
रोटी खा’रै अघाइन्छ अहिले सालमा ।

भाइटीकाको दिनमा दिदी आउने रे १
निधारैमा सप्तरंगी टीका लाउने रे १
चट्ट परी सजिने हो फूलको मालामा
ढाका टोपी ढल्काइन्छ अहिले सालमा ।

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

कोपिला

खेलौँ देउसीभैलो

- कान्तिपुर संवाददाता

साथीसंगी रमाउँदै
डुल्दै हिँडी घरको दैलो,
औँसीको दिन साँझपख
खेलौँ देउसीभैलो ।

तिहारमा गाई पुजिन्छ
सेतो–कालो अनि कैलो,
रमाउँदै तिहारमा
खेलौँ देउसीभैलो ।

सयपत्री र मखमली
आहा १ पाखाभरि फुल्यो,
मादल घन्काई गीत गाएर
खेलौँ देउसीभैलो ।

चामल, रोटी पैसा थाप्न
बोकौँ सानो थैलो,
तिहारमा छमछम नच्दै
खेलौँ देउसीभैलो ।

प्रज्वल बूढाथोकी, कक्षा–५
बालज्योति कम्युनिटी एकेडेमी, स्याङ्जा

Page 17
Page 18
Page 19
Page 20
कोपिला

देउसीभैलोको दक्षिणा

- कान्तिपुर संवाददाता

धेरै वर्षपछि ममीबाबासँगै प्रतिभा तिहार मनाउन गाउँको घर पुगिन् । पुग्दा साँझ परिसकेको थियो । त्यहाँ हजुरबा र हजुरआमा मात्र हुनुहुन्थ्यो । ममी र बाबासँगै प्रतिभाले पनि उहाँहरूलाई दर्शन गरिन् । साँझ झमक्क परिसकेको र थाकेको हुनाले खाना खाएर चाँडै नै उनीहरू सुते ।
भोलिपल्ट बिहानै उनले हजुरबासँग गाउँका सरिता, पवित्रा, सरोज, सौरव, सुमन, सौगात, समीक्षालगायत सबै साथीहरूको हालचाल सोधिन् । सबैको खबर ठीकै भएको हजुरबाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नातिनी, तिमीलाई पनि उनीहरूले सोधिरहन्छन् । कहिले आउँछिन् भन्छन् ।’ हजुरबाको कुराले प्रतिभालाई साथीहरू अहिल्यै भेटूँ लाग्यो । उनी नजिकैको साथी समीक्षाको घरमा गइन् ।
समीक्षाको घरमा पुग्नासाथ उनीहरूले आपसमा अँगालोमा बाँधिएर माया साटासाट गरे । एकअर्काको हालचाल सोधे । केही बेरमै सौरव र सौगात पनि त्यहीं आइपुगे । खुसीले उनीहरू निकै रमाए । प्रतिभाले भन्न थालिन्, ‘यसपालिको तिहारमा हामी कसरी रमाइलो गर्ने हो साथीहरू ? हामी त सानोमा पनि केही न केही गर्थ्यौं, अहिले त ठूला भइसकेका छौं । निकै रमाइलो गर्नुपर्छ ।’
सुमनले भने, ‘के गर्नू नि, पिङ खेल्ने, पटाका पड्काउने त्यही त हो । रमाइलो भइहाल्छ नि ।’
सौरवले चंगा उडाउने कुरा गरे । यस्ता कुरा गर्दागर्दै पवित्रा पनि आइपुगिन् । उनले पनि सबै मिलेर वनभात खाने र लुकीडुम खेल्ने कुरा गरिन् । केही बेर कुरा गरेर उनीहरू १० बजे समीक्षाकै घरमा फेरि भेट्ने निधो गर्दै फर्किए ।
पवित्राको घर जाने बाटोमै सरोज र सरिताको घर पर्थ्यो । उनीहरू दाजुबहिनी थिए । उनीहरूलाई पनि १० बजे समीक्षाको घरमा भेला हुने कुरा गरेर पवित्रा आफ्नो घरतर्फ लागिन् ।
सबै जना समीक्षाको घरमा भेला भए । प्रतिभाले कापी कलम बोकेर आएकी थिइन् । यसपालिको तिहारमा गाउँघरमा देउसीभैलो खेलेर रमाइलो गरौं भन्ने प्रस्ताव राखिन् । सबैले उनको प्रस्ताव स्विकारे । त्यसपछि प्रतिभाले भनिन्, ‘अब भन, तिमीहरूमध्ये क–कसले केके क्रियाकलाप गर्ने ?’ कसैले भट्याउने, कसैले नाच्ने, कसैले गाउने, कसैले मादल बजाउने, कसैले भेटी संकलन गर्ने जिम्मेवारी लिए । प्रतिभालाई खुसी लाग्यो । उनले अब हामी रियर्सल गर्नुपर्छ भनिन् ।
सबै जना समीक्षाकै घरमा भेला भएर रियर्सल गर्न थाले । देउसेभैलो भट्टयाउनेका साथै नाचगानको पनि अभ्यास गरे । प्रतिभाले गितार बजाएर तिहारको गीत गाउने बनाइन् ।
लक्ष्मीपूजा र भोलिपल्ट गोवर्धन पूजाको साँझ उनीहरू देउसीभैलो खेल्ने भए । समीक्षाको घरबाट सुरु गरे । उनीहरूको प्रस्तुति देखेर समीक्षाका परिवारले धेरै स्याबासी दिनुभयो । भेटी पनि धेरै राख्नुभयो । उनीहरूलाई ठूलै हौसला भयो । त्यसपछि उनीहरू उत्साही भएर देउसीभैलोका लागि अन्य घरमा गए ।
लगभग गाउँका सबै घरमा दुई दिन देउसीभैलो खेले । उनीहरू साह्रै खुसी भए । दान दक्षिणा पनि राम्रो कमाए । निकै थाकेकाले सबै आआफ्नो घरमा गएर सुते ।
भाइटीकाको दिन उनीहरू सबै आआफ्नो घरमा टीका लगाएर फेरि सदीक्षाकै घरमा भेला भए । उनीहरूले संकलन भएको पैसा के गर्ने भन्ने छलफल थाले ।
सरोजले भने, ‘कति हुन्छ ? सबैलाई भागबण्डा गरेर बाँडौं न ।’
‘बरु भोलि नै पिक्निक जाऔं,’ पवित्राले भनिन् । अरू साथीहरू भने बोलेनन् । सहरबाट गाउँ आएका प्रतिभा, सुमन र सौगातहरूको भोलिपल्टकै टिकट थियो ।
सबैको कुरा सुनिसकेपछि प्रतिभाले प्रस्ताव राखिन्– ‘यो पैसा र चामल कसैले पनि नलैजाऔं । हामीले सामाजिक काम पनि गर्न सिक्नुपर्छ । पर खोला नजिकै भएको वृद्धाश्रममा लगेर त्यहाँका आमाबुबाका लागि दान गरौं ।”
प्रतिभाका कुरा केही साथीहरू मान्न तयार भएनन् । केही साथीले भने स्विकारेर मुन्टो हल्लाए ।
प्रतिभाले फेरि भनिन्, ‘हेर साथीहरू, अब हामी ठूला भइसक्यौं । हामीले पढेका कुरा व्यवहारमा उतार्न सिक्नुपर्छ । म पनि तिमीहरू जस्तै साथी हुँ नि । मलाई पनि पैसा पाए खर्च गर्न मन लाग्छ । तर हामीमा मानवताको भावना हुनुपर्छ । आफ्नो समाज निर्माण आफैले गर्नुपर्छ । हामीले यो दान आश्रममा लगेर सुटुक्क नदिऊँ । हाम्रा परिवारका एकदुई जना सदस्य, वडा अध्यक्ष, गाउँका मान्नेगुन्ने मान्छेलाई पनि आजै गएर भनौं र हामीले यो दान प्रदान गरौ ।”
प्रतिभाका कुराले सबैको मन छोयो । ‘हुन पनि हो, टोलटोलका साना ठूला जोकोही मान्छेको देउसी खेल्नुको मूल उद्देश्य पिक्निक जाने हुन्छ । हाम्रो कामले उनीहरूको पनि आँखा खुल्नेछ । समाज सेवाको भावना उनीहरूमा पनि आउनेछ,’ सरोजले गम्भीर भएर भने । सदीक्षाले थपिन्, ‘हुन्छ हुन्छ । धेरै राम्रो हुन्छ । तर कहिले गर्ने ?’
उनको कुरा सुनेर प्रतिभाले भनिन्, ‘अहिले नै गएर हामी आआफ्ना घरमा सबै कुरा भनौं । हाम्रा अभिभावक जोजो भ्याउनुहुन्छ, उहाँहरूलाई लिएर गाउँका बुद्धिजीवी र वडा अध्यक्षकहाँ पनि अहिले नै जाऔं । भरे साँझसम्मा यो दान दिने व्यवस्था मिलाऔँ न ।” प्रतिभाको प्रस्तावमा सबै सहमति भए ।
सबैले आआफ्ना घरमा गएर यो कुरा सुनाए । घरका सबै मान्छे छक्क परे । कसले ल्यायो यो योजना ? भनेर प्रश्न पनि गरे । गाउँका बुद्धिजीवी र वडा अध्यक्षकहाँ प्रतिभाका हजुरबा, सदीक्षाका बा र सबै साथीहरू गए । सबैले उनीहरूको तारिफ गरे ।
सााझपख आमन्त्रित सबै जना प्रतिभाकै घरमा भेला भए । धेरै ढिला नगरी उनीहरू गाउँको वृद्धाश्रममा गए ।
आश्रममा औपचारिक रूपमा कसरी कार्यक्रम गर्ने भन्ने पनि उनीहरूले तय गरेका थिए । पवित्रा र सरोजले कार्यक्रम सञ्चालन गरे । सदीक्षाले यसको श्रेय प्रतिभालाई दिँदै छोटो मन्तव्य राखिन् । वडा अध्यक्ष श्याम रोकाया र गाउँका बुद्धिजीवी हर्क खड्काले पनि आफ्नो विचार राख्नुभयो ।
आश्रमका वृद्धा बुबाआमाहरूले हर्षका आँसु पुछ्न थाले । आश्रमका एक बूढाबाले भन्नुभयो, ‘यस्तो योजना कसले गरेको बा ?’ सदीक्षाले भनिन्, ‘हामी यही गाउँका साथीसाथी मिलेर गरेका हौं बा ।’ वडा अध्यक्षलगायत सबैले प्रतिभा र उनका साथीहरूलाई स्याबासी र धन्यवाद दिए ।
छोटो समयमा नै सानो भए पनि सार्थक काम गरेकोमा सबैका लागि यो खुसीको क्षण भएको अनुभूति साटासाट गर्दै सबै साथीहरू आ–आफ्नो घरतर्फ लागे ।

गीता सापकोटा