ब्रिटिस आर्मीको जागिर छाडेर आएका म्याग्देली ठिटोले ६ महिना ६ दिनमा विश्वका ८ हजार मिटर अग्ला सबै हिमाल चढे
- नवीन पोखरेल,घनश्याम खड्का
(काठमाडौं/म्याग्दी) - ब्रिटिस आर्मीको जागिर, करिब ७ करोड रुपैयाँ बराबरको पेन्सन । यो सब माया मारेर हिमाल चढ्न तम्सनु चानचुने निर्णय थिएन । धेरैले यसलाई दुस्साहस ठाने, पागलपन भने । त्यही पागलपन अहिले विश्व कीर्तिमान बनेको छ । म्याग्दीका निर्मल पुर्जालाई यति बेला बधाईको ओइरो छ । उनले ८ हजार मिटर अग्ला सबै १४ हिमाल आरोहण गरेका हुन्, त्यो पनि जम्मा ६ महिना ६ दिनमा । उनको यो सफलता विश्वले नियालिरहेको छ । उनले चौधौं हिमालका रूपमा मंगलबार बिहान ८ बजेर ५८ मिनेट (स्थानीय समय) मा चीनको सिसापाङमा आरोहण गरेका हुन् । यो ८ हजार २७ मिटर अग्लो छ । सुरुमा उनले सात महिनाभित्र आरोहण पूरा गर्ने ठानेका थिए । योजना सुनाउँदा धेरैले पत्याएनन् । सहयोग अपेक्षा गरिएका संघसंस्था र व्यक्तिहरू तर्किए । तर उनी हच्किएनन् । २३ दिनअघि नै लक्ष्य पूरा गरिदिए । ‘आफ्नो मिसन पूरा गरेर औधी खुसी छु,’ निर्मलले बुधबार केरुङ नाका पार गर्दै कान्तिपुरसँग खुसी साटे, ‘मैले प्रकृतिसहित विश्वभरबाट साथसहयोग पाएँ, उहाँहरूप्रति धन्य छु ।’ उनले आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको बताए । निर्मलले दक्षिण कोरियाका किम च्याङ होको कीर्तिमान तोडेका हुन्, जुन किमले ७ वर्ष १० महिना ६ दिन लगाएर बनाएका थिए । सकारात्मक सोच र लक्ष्यप्रति प्रतिबद्ध भएकैले यो सम्भव भएको निर्मलको बुझाइ छ । आरोहणअघि अनुमति पाउन, खर्च जुटाउन र राजनीतिक कारणले पनि केही मुस्किल भएको उनले सम्झिए । चीनले सिसापाङ्मा हिमाल आरोहणमा प्रतिबन्ध लगाएको छ । नेपाल सरकारको विशेष पहलपछि मात्र निर्मलले आरोहण अनुमति पाएका हुन् । अभियान सुरु गर्दा उनले कम्तीमा १० करोड ५० लाख रुपैयाँ लाग्ने बताएका थिए । यो खर्च कहाँबाट जुटाए त ? अहिले खुल्न चाहेनन् । ‘म गाइड गर्न पर्सि आमादब्लम जाँदै छु । अब पैसा पनि कमाउनुपर्यो नि ?’ निर्मलले हँस्यौली पारामा सुनाए । ११ नोभेम्बरमा दिवंगत सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्न आमादब्लम चढ्ने उनको योजना छ । त्यसपछि १७ तारिखमा बेलायत फर्कंदै छन् । त्यहाँ पुगेर किताब लेख्ने र वृत्तचित्र बनाउने सोचेका छन् ।
निर्मलको आरोहण अभियान घाइते सैनिक भेट्रान र नेपालका पिछडिएका बालबालिकाको सहयोगमा काम गर्ने ब्रिटिस मिलिट्री तथा नेपाली च्यारिटीको सहयोगार्थ केन्द्रित छ । जलवायु परिवर्तन र विश्व तापमान वृद्धिबारे जनचेतना जगाउने उद्देश्य पनि छ । ‘प्रोजेक्ट पोसिबल १४ः७’ नाम दिइएको उनको महत्त्वाकांक्षी योजना गत मार्च अन्तिम साताबाट सुरु भएको थियो । ब्रिटिस आर्मीमा अझै १० वर्ष कार्यावधि रहेका ३५ वर्षीय निर्मलको पूर्ण पेन्सन आउन ६ वर्ष मात्र बाँकी थियो । ‘मैले ५ लाख पाउन्ड पेन्सन गुमाएर आरोहणमा लाग्ने निधो गरेको हुँ,’ उनले आरोहणअघि कान्तिपुरसँग भनेका थिए, ‘आर्मीमा मेरो राम्रो तलब–सुविधा (मासिक ६ लाख रुपैयाँ) थियो । तर, नेपाल, नेपाली र सम्पूर्ण मानव जातिको प्रतिष्ठा उचो बनाउन प्रोजेक्ट पोसिबलको महत्त्वाकांक्षी योजना बनाएँ ।’ आरोहण तयारीका लागि निर्मलले घर बन्धकी राखेर करिब ७५ लाख रुपैयाँ आफ्नै खाताबाट जोहो गरेका थिए । यसअघि पनि घर बन्धकी र आफ्नो कमाइबाट गरी करिब एक लाख पाउन्ड खर्च गरिसकेको उनले बताए । सन् २००३ मा ब्रिगेड अफ गोर्खाज प्रवेश गरेका उनी सन् २००९ देखि ‘यूके स्पेसल फोर्सेस’ को अंग बने । ब्रिटिस आर्मीको स्पेसल बोट सर्भिसमा छानिने पहिलो गोर्खा हुन् उनी । सन् २०१२ देखि आरोहण थालेका उनले यसअघि तीनपटक सगरमाथा चढे । ८ हजार मिटरमाथिका ४ वटा र ४ महादेशका अग्ला हिमाल चढेर अनुभव बटुले । निर्मल सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सेवारत ब्रिटिस गोर्खा पनि हुन् । यसअघि पनि आरोहणमा उनका नाममा थुप्रै कीर्तिमान छन् । सगरमाथादेखि लोत्से आरोहण जम्मा दस घण्टा १५ मिनेटमै पूरा गरे, जुन त्यसअघि २० घण्टाको रेकर्ड थियो । ५ दिनमै सगरमाथा, लोत्से र मकालु (८ हजार मिटर अग्ला) चढे । १७ दिनमा सगरमाथा दुईपटक, लोत्से र मकालु चढ्ने व्यक्ति पनि उनै हुन् । उनले सगरमाथा चढ्ने क्रममा कठ्यांग्रिएर सिकिस्त अवस्थामा पुगेका एक भारतीय आरोहीलाई बचाएका थिए । ‘जी २०० ई गोर्खा एक्सपिडिसन’ मा १३ गोर्खाहरूलाई सगरमाथा लैजान निर्मलको प्रमुख भूमिका थियो । यी उपलब्धि र साहसकै कारण उनले यसै वर्ष ब्रिटिस आर्मीमा एमबीईजस्तो अवार्ड पाउन सफल भए ।
को हुन् निर्मल पुर्जा ? निर्मलको जन्मस्थान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना गाउँ हो । उनी नन्दबहादुर र पूर्णकुमारी पुर्जाका पाँच सन्तानमध्ये कान्छा हुन् । उनी दुई वर्षका छँदा भारतीय सेनाका लाहुरे बाबुले चितवनको रत्ननगरमा बसाइँ सारे । निर्मलले नारायणघाटस्थित स्मल हेभेन स्कुलबाट एसएलसी उत्तीर्ण गरेका थिए । जेठा दाजु गंगा र साइँला कमल पनि बेलायती सेनाका लाहुरे हुन् । माइला जीत भने पुर्ख्यौली थलो दानाको ज्ञानप्रकाश माविमा शिक्षक छन । दिदी अनिता अस्ट्रेलियामा डाक्टर छिन् । निर्मलकी पत्नी सूची बेलायतमै बसोबास गर्छिन् । उनी भने सेवानिवृत्त भएपछि आमाबाबुसँग चितवनको रत्ननगरमै बस्दै आएका छन् । आमा पूर्णकुमारी र माइली भाउजू कुलमाया निर्मललाई लिन बुधबार बिहान सिसापाङ्मा हिमालको बेसक्याम्पमै पुगेका थिए । ‘बेलायती सेनामा सबैभन्दा बढी तलब खाने गोर्खामध्येका भाइको जागिर छोडेर हिमाल चढ्ने निर्णयले हामी अक्मकिएका थियौं तर उसले विश्व रेकर्ड तोडेको खबरले औधी खुसी छौं,’ चितवनबाट कार्यस्थल फर्कंदै गरेका माइला दाजु जितले भने । ‘भाइलाई लिन आमा उहीं तिब्बतै पुग्नु भा’छ । आज नेपाल फर्कने कार्यक्रम छ,’ उनले भने ।
कुन हिमाल कहिले ?
अन्नपूर्ण (८,०९१)२३ अप्रिल, २०१९ धौलागिरि (८,१६७) १२ मे कञ्चनजंगा (८,५८६) १५ मे सगरमाथा (८,८४८) २२ मे ल्होत्से (८,५१६) २२ मे मकालु (८,४८१) २४ मे नांगा पर्वत (८,१२६) ३ जुलाई गासेरब्रुम पहिलो (८,०८०) १५ जुलाई गासेरब्रुम दोस्रो (८,०३५) १८ जुलाई के टु (८,६११) २४ जुलाई ब्रोड पिक (८,०५१) २६ जुलाई चो यू (८,१८८) २३ सेप्टेम्बर मनास्लु (८,१६३) २७ सेप्टेम्बर सिसापाङ्मा (८,०२७) २९ अक्टोबर
मुख्य पृष्ठ
प्रधानमन्त्रीको डायलाइसिस !
- स्वरूप आचार्य,अतुल मिश्र
(काठमाडौं) - प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको स्रोतले कान्तिपुरलाई जानकारी दियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्राडा दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ । ‘उहाँको स्वास्थ्यस्थिति सामान्य छ । सम्माननीयज्यूको आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्म डिस्चार्ज गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ । अस्पताल प्रशासनले प्रधानमन्त्रीका विषयमा औपचारिक जानकारी दिन चाहेको छैन । ‘अस्पतालको निर्देशकका रूपमा मेरो पहिलो काम भनेको बिरामीको उपचार हो । प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा जानकारी दिन आग्रह नगरेसम्म मैले केही पनि भन्न मिल्दैन । मेरो बाध्यता बुझिदिनुस्,’ निर्देशक पाण्डेले भने । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि बिहान ९ बजे अस्पताल लगिएको बताए । ‘उहाँ नियमित परीक्षणका लागि अस्पताल जानुभएको हो । परीक्षणको रिपोर्ट आएपछि बालुवाटार फर्कनुहुन्छ,’ उनले भने । तर ग्रान्डीकै केही चिकित्सकले यसलाई नियमित फलोअप भन्न नसकिने टिप्पणी गरे । ‘यो नियमित फलोअप होइन,’ एक चिकित्सकले भने, ‘स्वास्थ्य समस्याका लागि विशेष परीक्षण, उपचार प्रक्रियाको क्षमतायुक्त अस्पताल नै पुर्याउनुपर्ने बाध्यताले उहाँलाई ल्याइएको हो ।’ उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यस्थिति, उपचार आदिबारे अन्य चिकित्सक, पदाधिकारीलाई समेत सूचना दिइएको छैन । निजी चिकित्सक शाह र अर्का चिकित्सक दिलीप शर्मालाई मात्र रिपोर्ट हेर्न दिइएको छ । प्रधानमन्त्री भदौ ५ गते उपचारका लागि सिंगापुर प्रस्थान गर्नुपूर्व शाहले प्रेस नोट जारी गर्दै तत्कालीन स्वास्थ्यस्थिति र उपचार प्रक्रियाबारे जानकारी गराएकी थिइन् । उक्त जानकारीअनुसार प्रधानमन्त्रीको पहिलो पटक साउन १८ देखि २७ सम्म नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा स्वास्थ्य परीक्षण गरिएको र उनको शरीरमा ‘एन्टीबडी’को मात्रा धेरै देखिएको थियो ।
त्यसलाई निराकरण गर्न प्लाज्माफेरेसिस प्रक्रियालाई निरन्तरता दिनुपर्ने भएकाले दोस्रो पटक पनि सिंगापुर जान लागिएको बताइएको थियो । प्रधानमन्त्री दोस्रो पटक सिंगापुरबाट भदौ २० गते फर्किएका थिए । ‘एन्टीबडी’ भनेको शरीरलाई बाहिरी तत्त्वबाट जोगाउन उत्पादन गरिने एक प्रकारको लडाकु कोष हो । चिकित्सकका अनुसार १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको शरीरमा एन्टीबडी घटाउन प्लाज्माफेरेसिस गरिनु सामान्य प्रक्रिया नै थियो । प्लाज्माफेरेसिस पद्धतिमा शरीरबाट रगतलाई नलीको माध्यमबाट ‘एफेरेसिस’ मेसिनमा पठाइन्छ । मेसिनले धेरै मात्रामा रहेको एन्टीबडी निकालेर रगत पुनः शरीरमै पठाउँछ । एन्टीबडी फेरि बढ्न नदिन केही औषधि दिइन्छ । त्यो औषधिले राम्रो काम गरे तत्काललाई मिर्गौला प्रत्यारोपण गर्नुपर्दैन । तर, एन्टीबडी उत्पादन नियन्त्रण नभए प्रत्यारोपणको विकल्प हुँदैन । उक्त औषधिले कहिलेकाहीँ सकारात्मक असर देखाउँछ भने कहिले थप जटिलता पनि निम्त्याउन सक्ने चिकित्सकको भनाइ छ । ‘अहिले प्रधानमन्त्रीको स्वस्थ्य अवस्था के छ भनेर आकलन मात्र गर्न सक्छौं । उपचारमा प्रत्यक्ष संलग्न चिकित्सकले औपचारिक रूपमा नभनेसम्म केही पनि भन्न मिल्दैन,’ एक विज्ञ चिकित्सकले भने, ‘तर डायलाइसिस नै गर्न थालिएको हो भने उहाँको शरीरले डोनरबाट प्राप्त मिर्गौला अस्वीकार गर्न थाल्यो कि भन्ने नै हो । मिर्गौला प्रत्यारोपण गरिएका बिरामीमा ११–१२ वर्षपछि यस्तो समस्या देखिनु सामान्य नै हो ।’ विज्ञका अनुसार कहिलेकाहीं सामान्य मानिसलाई पनि विभिन्न संक्रमणका कारण डायलाइसिस गर्नुपर्ने हुन सक्छ । प्रधानमन्त्रीलाई पहिलो पटक सिंगापुर लगिनुअघि साउन १० गते शुक्रबार सैनिक अस्पताल छाउनीमा नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो । त्यही रिपोर्टका आधारमा उनलाई सिंगापुर लैजाने निर्णय भएको थियो । रेनल बायोप्सीमा प्रत्यारोपित मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गरिन्छ । यसको परीक्षण मिर्गौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिए पनि गरिन्छ । ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचारपछि निको भएका उनी त्यसपछि नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए । गत वर्ष प्रधानमन्त्रीको शपथ लिनु केही दिनअघि पनि बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेसनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।
डायलाइसिस के हो ? मिर्गौलाले रगत सफा गर्न नसक्ने भएपछि मेसिनको सहायतामा रगतमा भएका फोहोर तत्त्व, शरीरलाई चाहिनेभन्दा बढी मात्रामा रहेको नुन र पानी बाहिर फालेर रक्तचाप नियन्त्रणमा राख्न गरिने प्रक्रिया नै डायलाइसिस हो । यो दुई प्रकारको हुन्छ । पहिलो, हेमोडायलाइसिस । यसमा रगतलाई नलीको माध्यमबाट कृत्रिम मिर्गौला मेसिनमा पठाइन्छ र शुद्धीकरण गरेर पुनः नलीका माध्यमबाट शरीरमै फिर्ता गरिन्छ । दोस्रो, पेरिटोनियल डायलाइसिस । यसमा आफ्नै पेटको भित्री सतहको सहायतामा रगतलाई डायलाइसेट नामक तरल पदार्थको माध्यमबाट शुद्ध पारिन्छ । सामान्यतया मिर्गौलाको कार्यक्षमता १५ प्रतिशतभन्दा कम भएपछि डायलाइसिस गरिन्छ । मिर्गौलाको कार्यक्षमतामा ह्रास आउँदा बिरामीलाई अत्यधिक रिंगटा लाग्ने, बान्ता हुने, सुन्निने र आलस्य महसुस हुन्छ । कहिलेकाहीं पूर्वलक्षण नदेखिन पनि सक्छ । सामान्यतया मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडे हप्ताको ३ पटकसम्म अस्पतालमै लगेर डायलाइसिस गरिन्छ । एकपटक डायलाइसिस गर्न करिब ४ घण्टा लाग्छ ।
मुख्य पृष्ठ
देउसी खेल्न बोलाएर 'बलात्कार’
‘अप्ठ्यारो पर्दा इन्द्रहाङ सम्झिन्छौं, बलात्कारी त उही पो हो भनेर फेरि झस्किन्छौं’
- बिनु सुवेदी
(काठमाडौं) - गाउँकै स्कुलबाट १२ कक्षा सकेपछि उनी थप अध्ययनका लागि ५ महिनाअघि काठमाडौं आइन् । दिदीबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए । समय खाली थियो, जतिसक्दो धेरै उपयोगी बनाउन चाहन्थे, त्यसैले उनीहरू हप्तैपिच्छे हाइकिङ जान्थे । त्यही क्रममा गत असार पहिलो साता इन्द्रहाङ राईसँग उनको चिनजान भयो । दिदीको सँगै पढ्ने साथी भएकाले उनी दाइ भनेरै सम्बोधन गर्थिन् । सम्बन्ध दाजुबहिनीकै जस्तै चुलिएको थियो । ‘अहिले पनि उसैले बहिनीलाई यो हिंसा गर्यो भनेर विश्वास गर्नै कठिन भइरहेको छ,’ उनकी दिदीले भनिन् । भाइटीकाको अघिल्लो दिन उनी कोठामा एक्लै थिइन् । अप्ठ्यारो–सप्ठ्यारोमा भरथेग गर्ने राईलाई यो थाहा नहुने कुरै भएन । इन्द्रहाङ विद्यार्थी नेता पनि हुन् । कसैको समस्यामा उनी सहयोग गर्न अघि सर्थे । अझ राईसँग ‘बहिनीले काठमाडौंमा दिक्क मान्न सक्छे, सरसहयोग गरिदिनू’ भनेर दिदी काठमाडौं बाहिर गएकी थिइन् । दिउँसो उनलाई राईले फोन गरे । ‘३ बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भने । उनी जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे । मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्याए, जहाँ उनका आफन्त डेरा गरेर बस्छन् । त्यस दिन राईका आफन्त अन्तै गएका थिए । राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन् । राईले केहीबेरपछि देउसी सुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरे । माहौल ठीकठाक थियो, ठूलो कुरा त विश्वास नै थियो । तर जब राई उनीमाथि जाइलाग्न थाले विश्वासको पहाड ढल्यो । ‘सुरुमा उसले हग गरौँ भन्यो, मैले मानिनँ त्यसपछि जबर्जस्ती गर्यो,’ उनी सम्झिन्छिन् । प्रतिकार गरे पनि उनी उम्किन सकिनन् । ‘मैले मान्दै नमानेपछि गालामा दुई झापड हान्यो, सबैलाई भनिदिन्छु भनें तर तेरो बेइज्जत गरिदिन्छु भनेर धम्क्यायो,’ उनले सुनाइन् । राईले मर्याकमुरुक पारिदिएको उनको हात अरूले छोए पनि दुख्छ । राईको बलियो घुँडाले थिचेका उनका खुट्टाहरू राम्ररी टेकिन सकेका छैनन् । बुधबार साँझ कान्तिपुरसँगको भेटमा उनले त्यो दिन सम्झिइन्, ‘उसले दुई पटकसम्म जबर्जस्ती मेरो मुखमा लिंग छिराइदियो ।’ उनले जतन गरेर राखेकामध्ये सबैभन्दा राम्रो कुर्था लगाएकी थिइन्, राईले धुजाधुजा पारिदिए । पीडितले यही कुरा प्रहरीमा पनि रिपोर्ट गरेकी छन् । ‘तर मेडिकल टेस्टमा माउथ स्वाब लिइएन, मैले भन्न सक्ने अवस्था पनि थिएन । अहिले त्यही आधारमा प्रमाण पुगेन भनेर उसलाई छाडिदिन्छन् कि भन्ने डर लागेको छ,’ उनले भनिन् । त्यस क्रममा राईले धेरै धम्की दिएको पीडितको भनाइ छ । दिउँसो ३ बजेदेखि करिब साढे ३ घण्टा उनीमाथि जाइलागेका राईले उनलाई चक्कु देखाएर मार्नेसम्मको धम्की दिएको उनले सुनाइन् । ‘मलाई त्यहाँबाट निस्किन धेरै सकस भयो, कतै पनि भन्दिनँ अहिले यहाँबाट निस्किन दिनुस् भनेपछि उसले बाइकमा बसपार्कसम्म ल्याएर छाडिदियो,’ उनले भनिन् । त्यतिखेर उनको साथमा गाडी भाडा तिर्ने पैसा थिएन, योबारे राई जानकार थिए । राईले उनको हातमा हजार रुपैयाँ थमाउँदै भने, ‘मलाई यो पैसा फिर्ता होला भन्ने आस छैन ।’ ‘तर मैले पैसा उसैलाई फालिदिएँ, गाडी चढें र दिदी (दिदीको साथी) लाई फोन गरें,’ उनले भनिन् । दिदी उनलाई लिन कोटेश्वरसम्म आइपुगिन् । घर पुगेपछि उनले सबै कहानी सुनाइन् । घटना बाहिर ल्याउने कि नल्याउने भन्ने विषयमा उनीहरूबीच लामो छलफल भयो । अन्ततः राति १ बजेतिर पुलिसमा जाहेरी दिन उनी तयार भइन् । उनीहरू कौशलटारमा बसिरहेका थिए, १०० मा डायल गर्दा सानोठिमी प्रहरीले फोन उठायो । घटना माकलबारीको हो भनेपछि बौद्धको प्रहरीलाई खबर गर्नु भन्ने जवाफ आयो । उनीहरूले बौद्धको नम्बर पत्ता लगाए र फोन गरे, त्यतिखेरसम्म रातिको साढे १ बजिसकेको थियो । प्रहरीको जवाफ आयो, ‘अहिले धेरै रात परिसक्यो, बिहान ६ बजे आउनू ।’ प्रहरीको हल्काफुल्का जवाफ सुनेर उनीहरू छक्क परे । ‘बलात्कारजस्तो गम्भीर घटनामा पनि यस्तो जवाफ दिने भनेर कराएपछि प्रहरीले त्यसो हो भने तपाईंहरू आफैं आउनुस्, हामी आउन सक्दैनौं भन्यो,’ उनी सम्झिन्छिन् ।
त्यसपछि दिदीबहिनीले केही साथीलाई फोन गरे, साथीहरू पनि कौशलटार आइपुगे र उनीहरू राति साढे २ बजेतिर उजुरी लिएर प्रहरी कार्यालय बौद्ध पुगे । उजुरी दर्ता भयो तर प्रहरी घटनास्थलमा बिहान ६ बजेमात्रै जाने भयो । उनीहरू बौद्ध एरियामै यताउता टहलिएर उज्यालो बनाए । भाइटीकाको दिन, बिहानीको सिरेटोले उनको शरीर झन्झन् दुख्न थाल्यो । घटनास्थलमा प्रहरीभन्दा अगाडि नै राई पुगिसकेका थिए । उनले आफू प्रहरीको इन्स्पेक्टर हुँ भन्दै कोठा खोल्न पनि लगाएका थिए, त्यही बेला ठ्याक्कै प्रहरी पुग्यो । राई पक्राउ परे । उनी नेकपाको भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका स्ववियु सहसचिव हुन् । पक्राउपछि राईको परिवारका सदस्यले पीडित किशोरीलाई फोन गरे । सुरुमा सान्त्वना दिए, पछि मिल्नुपर्छ भनेर फकाए । तर उनी कानुनी कारबाहीका लागि दृढ रहिन् । काठमाडौंमा अहिले दिदीबहिनी र त्रिभुवन विश्वविद्यालयका केही साथी मिलेर उनलाई काउन्सिलिङ गराउन यताउति धाइरहेका छन् । घटनालाई लिएर उनको मनोबल कत्ति पनि नघटोस् भन्ने उनीहरूको चाहना छ । तर के के कुराको अभाव परिरहन्छ । ‘हामीले काउन्सिलिङका लागि प्रहरीसँग पनि अनुरोध गरेका थियौं तर आफैं गर्नुस् भनेर जवाफ दिए,’ उनकी दिदीले सुनाइन् । ‘यस्तो अप्ठ्यारो परेका बेला इन्द्र दाइलाई भनेपछि सहयोग गर्नुहुन्छ कि जस्तो लाग्छ,’ उनकी दिदीले भनिन्, ‘फेरि झसङ्ग हुन्छु, बलात्कारी त उही पो हो ।’ उनीहरूको अनुहारको बत्ती झ्याप्पै निभ्यो तर उसलाई कारबाही भएको देख्ने चाहना निभिसकेको छैन ।
समाचार
क्लिनफिड कानुन लागू
- ऋषिराम पौड्याल
(काठमाडौं) - नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) कार्यक्रम प्रसारण गर्नुपर्ने व्यवस्था अब कानुनी रूपमै लागू भएको छ । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न पहिलो पटक बनेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमाणीकरण गरेकाले उक्त प्रस्तावले कानुनी मान्यता पाएको हो । विधेयक पारित भएपछि यो ऐन तत्कालै लागू हुनेछ । राजपत्रमा सूचना प्रकाशित गरेर तोकिएको मितिबाट लागू हुनेछ भन्ने राष्ट्रिय सभाको प्रस्तावलाई प्रतिनिधिसभाले अस्वीकार गरेको थियो । विकास तथा प्रविधि समितिमा सांसदहरूले सरकारलाई तजबिजीमा छाड्न नहुने भन्दै तत्काल लागू हुने प्रावधान राखेर प्रतिनिधिसभामा पठाउन सुझाएका थिए । अब यो ऐन लागू हुँदा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले भने एक वर्षसम्म क्लिनफिड प्रसारण गर्नुपर्ने छैन । त्यस्तो सम्झौता नगरेका संस्थाहरूले भने एक वर्षको समय पाउने छैनन् । उनीहरूले विधेयक प्रमाणीकरण भएको दिनबाटै विज्ञापनरहित कार्यक्रम प्रसारण गर्नुपर्छ । विधेयकमा नेपालका सञ्चारमाध्यमले विदेशी च्यानलको विज्ञापन डबिङ गरेर प्रसारण गर्न नपाउने उल्लेख छ । प्रचलित कानुनअनुसार विदेशी उत्पादन तथा सेवाहरूको विषयमा नेपालमै विज्ञापन निर्माण गरेर प्रसारण गर्न भने बन्देज लाग्ने छैन । यसबाट नेपाली जनशक्ति, भौगोलिक स्थान र वस्तुहरूको प्रयोग हुने, रोजगारी सिर्जना हुने र राजस्व बढ्ने आकलन सरकारको छ । अहिले टेलिभिजनमा मात्र यसको प्रभाव देखिए पनि बिस्तारै प्रिन्ट, रेडियो, युट्युब र अनलाइनलगायत मिडियामा पनि यसको सकारात्मक प्रभाव पर्ने दाबी विज्ञापन व्यवसायीले गर्दै आएका छन् । विज्ञापन र सञ्चारविज्ञहरूले भने क्लिनफिड लागू गर्न राष्ट्रिय प्रसारण ऐन बन्नुपर्ने बताएका थिए । तर सरकारले वस्तुको प्रवर्द्धन, वितरण र सेवा प्रसारणका लागि यो विधेयक ल्याएको दाबी गर्दै आएको छ ।
विज्ञापन बोर्ड गठन सरकारले विज्ञापन ऐन लागू गर्न विज्ञापन बोर्डको गठन गर्नेछ । सरकारद्वारा गठित सिफारिस समितिले खुला प्रतियोगिताबाट छनोट गरेको व्यक्ति अध्यक्ष हुनेछन् । अध्यक्षका लागि आमसञ्चार, कानुन, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक गरेको र १० वर्षको अनुभव रहेको व्यक्ति हुनुपर्नेछ । निजी क्षेत्र, विज्ञ र सरकारी अधिकारीसमेत विभिन्न क्षेत्र र प्रक्रियाबाट मनोनीत सदस्यसहित ९ जनाको बोर्डलाई विज्ञापन नियमन गर्ने अधिकार हुनेछ । त्यस्तै विज्ञापनको अनुगमन र सजाय गर्न बोर्डलाई १३ वटा बुँदामा अधिकार तोकिएको छ । बोर्डले ऐनले प्रत्यायोजित गरेका सबै अधिकार प्रयोग गरी कार्यविधि बनाएर लागू गर्नेछ । सरकारी विज्ञापन छपाउने, भुक्तानी दिने र अनुगमन गर्ने अधिकार अब विज्ञापन बोर्डलाई हुनेछ । विज्ञ र निजी क्षेत्रले यो प्रावधान हटाउन माग गर्दै आएका थिए । प्रावधानअनुसार सरकार र यस अन्तर्गतका निकायले लोकल्याणकारी वा अन्य विज्ञापन वा सूचना प्रकाशन वा प्रसारण एवं यसबापतको भुक्तानी बोर्डमार्फत गर्नुपर्नेछ । सरकारको सार्वजनिक हितसम्बन्धी सबै विज्ञापन बोर्डले समानुपातिक रूपमा वितरण गर्ने प्रावधान राखिएको छ । बोर्डलाई विज्ञापन संशोधन गर्ने, हटाउने वा सुधार गर्न सक्ने अधिकार छ ।
होर्डिङ बोर्ड जथाभाबी राख्न नपाइने तोकिएका सर्तहरू उल्लंघन गरेमा बढीमा तीन वर्ष कैद र तीन लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । बोर्डलाई विज्ञापन एजेन्सीहरूसँग समन्वय गर्ने अधिकार प्रदान गरिएको छ । वस्तु, सेवा र कार्यक्रमको प्रचारप्रसारका लागि लागि बिजुली, टेलिफोन र सोलारलगायत सार्वजनिक सेवा प्रदान गर्न गाडिएका खम्बामा होर्डिङ बोर्ड राख्न पाइने छैन । हाल राजधानीलगायत मुख्य सहरहरूमा जथाभाबी ढंगले राखिएका होर्डिङ बोर्डहरू हटाउनुपर्नेछ । तोकिएको निकायको स्वीकृतिबिना होर्डिङ बोर्ड राख्न पाइने छैन । यस्तो स्वीकृति कानुनले तोकेको स्थानका लागि मात्र दिन सकिने छ । धार्मिक एवं सांस्कृतिक क्षेत्र एवं प्राकृतिक सौन्दर्यमा बाधा पुग्ने गरी कुनै पनि सार्वजनिक स्थलमा होर्डिङ बोर्ड राख्न पाइने छैन । विधेयकमा उल्लेखित प्रावधानका विषयमा प्रतिपक्षी कांग्रेसले विज्ञापन विधेयक प्रेससँग जोडिएको भन्दै कैद र जरिवानालाई प्राथमिकता दिएर क्रिमिनल कानुनलाई आकर्षित गरेको बताउँदै आएको थियो । कांग्रेसले बोर्डलाई सरकार मातहत बनाएर विज्ञापनको वितरण गर्दा आफ्ना नजिकलाई मात्र गर्ने खतरा रहने दाबी गरेको छ ।
समाचार
ओली–मदुरो बृहत् भेटघाटमा परराष्ट्र 'बेखबर'
बाकुमा प्रधानमन्त्री ओलीले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग गरेको भेटवार्ताको भिडियो मदुरोको ट्वीटबाट सार्वजनिक
- कान्तिपुर संवाददाता
प्रधानमन्त्री ओली र भेनेजुएलाका राष्ट्रपति मदुरो भेटवार्तामा ।
(काठमाडौं) - गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका परराष्ट्रका अधिकारीहरूले उक्त भेटवार्तालाई ‘इन्फर्मल’ र ‘साइडलाइन’ भन्दै भेटघाटलाई सञ्चारमाध्यममा खुलाउनै चाहेका थिएनन् । ‘भेटघाटका तस्बिर पनि खिच्ने अवसर मिलेन, सबै साइडलाइनमा उभिएकै अवस्थामा भएका भेटघाट थिए,’ प्रतिनिधिमण्डलका एक वरिष्ठ सदस्यले बाकुबाट जानकारी गराएका थिए । राष्ट्रपति मदुरोको ट्वीटबाट आएको भिडियोले भने परराष्ट्र मन्त्रालयले खुलाउन नचाहेको तथ्य सार्वजनिक गरेको छ । भिडियोमा उक्त द्विपक्षीय औपचारिक भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागी, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल र न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृत राईसहित सहभागी देख्न सकिन्छ । यस पटक असंलग्न आन्दोलनको सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्केपछि परराष्ट्र मन्त्रालयले जारी गरेको नोटमा ‘असंलग्न आन्दोलनका निवर्तमान अध्यक्ष भेनेजुएलाका राष्ट्रपति मदुरो र उत्तर कोरियाली सर्वोच्च जनसम्मेलनका अध्यक्ष चोइरोयङ हाईसँग शिष्टाचार भेटघाट भएको’ भन्ने औपचारिकताको सूचना भने राखिएको छ । अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा विवादास्पद मानिँदै आएको दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलाका राष्ट्रपतिको पदीय हैसियत र चुनावी नतिजामा अन्तर्राष्ट्रिय समुदायले ‘असहमति’ राख्दै आएको छ । गत वर्ष नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रजातान्त्रिक तवरबाट चुनिएका राष्ट्रपति मदुरोलाई मान्यता दिनुपर्ने पक्षमा’ विज्ञप्ति निकालेर विवादमा परेका थिए । ‘नेकपाले भेनेजुयलाका जनता, देशको सार्वभौमसत्ता र प्रजातान्त्रिक रूपमा निर्वाचित संवैधानिक राष्ट्रपति निकोलस मादुरोको समर्थनमा यो विज्ञप्ति जारी गरेको छ । अमेरिका र यसका सहयोगीहरूले बोलिभियाली गणतन्त्र भेनेजुयलामाथि जनताबीच विभाजन ल्याई हिंसा बढाउने, प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिमाथि चुनौती दिने कार्यको सशक्त विरोध गर्छ’, विज्ञप्तिमा उल्लेख थियो । विश्व मानचित्रमा लोकतान्त्रिक ‘क्रेडिन्सियल’ नभएका र एकल पद्धतिमै हिँड्न रुचाएका मुलुकहरूसँगको बढ्दो हिमचिमलाई अन्तर्राष्ट्रिय मामिलाका जानकारले ‘नेकपा पार्टी जे जसरी र जताबाट भए पनि पहिचानको दौडमा लागिपरेको’ टिप्पणी गरेका छन् । ‘तर, यो चिनारीले कसैलाई आकर्षित गर्न सकेको छैन,’ राजनीतिक विश्लेषक ध्रुव कुमार भन्छन्, ‘चीन र भारतले मात्रै आफ्नो स्वार्थका कारण हामीलाई (हाम्रा नेतालाई) आमन्त्रण गर्ने गरेका हुन् । तर अरू मुलुकहरूका हकमा र अझ एकल तथा अस्वीकृत पद्धतिमा चलेका मुलुकहरूसँग जोडिन हामी आफैं गएका हौं, कुनै आमन्त्रण गरिएको थाहा छैन ।’ प्रधानमन्त्रीका कूटनीतिक सल्लाहकार डा. राजन भट्टराईले भने ‘भेनेजुयलाका राष्ट्रपति र उत्तर कोरियाबाट स्टेट अफेयर्स कमिसनका प्रथम उपाध्यक्षले अनुरोध गरेकै आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले द्विपक्षीय भेटघाट गरेको’ भन्दै प्रतिवाद गरेर गत शुक्रबार ट्वीट गरेका थिए । सिंगो मुलुकले लोकतान्त्रिक पद्धतिअन्तर्गत ‘बहुल परिपाटी’ अंगालिरहेका बेलामा यो ‘एकल’ प्रवृत्ति किन देखिएको हो भन्नेबारे परराष्ट्रका कोही पनि अधिकारीले जवाफ दिन चाहेनन् । विश्व राजनीतिमा विवादित रहेका प्रतिनिधि पात्र सम्मिलित गत वर्ष मंसिरको एसिया प्यासिफिक समिटका पनि विवादास्पद बनेको थियो । यस बीचमा गत असार अन्तिम सातामा भेनेजुयला राष्ट्रपतिका छोरा निकोलस अर्नेस्तो मदुरो गुएरा नेपाल भ्रमणमा आएका थिए भने कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि गत वर्ष नोभेम्बरमा नेपाल भ्रमणमा आएका थिए ।
समाचार
मेडिकल कलेजले फिर्ता गरेनन् शुल्क
- सुदीप कैनी
(काठमाडौं) - सरकारले तोकेको समयसीमा सकिँदा पनि निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् । गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा सम्बन्धित विश्वविद्यालयका पदाधिकारीसहित गत असोज ६ गते बसेको बैठकले एक महिनाभित्र रकम फिर्ता गर्न कलेजहरूलाई निर्देशन दिएको थियो । बैठकले शुल्क फिर्ता नगरे निजी मेडिकल कलेजहरूविरुद्ध ठगी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको थियो । विद्यार्थीबाट मनोमानी शुल्क लिँदै आएका कलेजहरूले यसअघि पनि सरकारको निर्देशन उल्लंघन गर्दै आएका थिए । सहमति उल्लंघन भएको भन्दै पोखराको गण्डकी र भरतपुरको चितवन मेडिकल कलेजका विद्यार्थीले आन्दोलन पुनः चर्काउने चेतावनी दिएका छन् । चितवन मेडिकल कलेजकी छात्रा मान्यता थापाले बढी शुल्क लिएका देशभरका मेडिकल कलेजमा अतिरिक्त शुल्क फिर्ता गराउनलाई दबाब दिन आल्दोलन गर्ने बताइन् । मन्त्रिपरिषद्ले २०७५ असोजमा एमबीबीएस र बीडीएसको शुल्क तोक्दै बढी शुल्क लिए जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही गर्ने निर्णय गरेको थियो । गृहमन्त्री थापा र शिक्षामन्त्री पोखरेल उपस्थित बैठकले पनि त्यही निर्णयका आधारमा कलेज सञ्चालकहरूलाई ठगी मुद्दा चलाउने निर्णय गरेको हो । सरकारले तोकेभन्दा बढी शुल्क तिरेका विद्यार्थी र अभिभावकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्नेछन् । कलेजहरूले निर्देशन अबज्ञा गरेकाले ठगीमा मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिन लागिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । विभिन्न समितिले गरेको छानबिनमा त्रिभुवन र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका मेडिकल कलेजहरूले बढी शुल्क उठाएको भेटिएको थियो । गृह मन्त्रालयले ठगी मुद्दा चलाउने चेतावनी दिएपछि कलेज सञ्चालकहरूले भने आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना नलिने जनाएका छन् । चिकित्सा शिक्षा आयोगले मुद्रास्फीतिका आधारमा शैक्षिकसत्र २०७६ को शिक्षण शुल्क तोकेलगत्तै असन्तुष्ट मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना रोक्ने धम्की दोहोर्याएका हुन् । आयोगद्वारा निर्धारित नयाँ शुल्कअनुसार उपत्यकाभित्र एमबीबीएस अध्ययन गर्न ४० लाख २३ हजार २ सय ५० रुपैयाँ र उपत्यका बाहिरका मेडिकल कलेजहरूमा ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क लाग्नेछ । यसअघि उपत्यकाभित्र एमबीबीएस पढ्न ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार शुल्क लाग्थ्यो । बीडीएसलाई २० लाख १९ हजार ५ सय ८० रुपैयाँ शुल्क कायम गरिएको छ । यसअघि बीडीएसको शिक्षण शुल्क १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ थियो । मेडिकल कलेजहरूले तोकिएभन्दा दोब्बरसम्म शुल्क उठाउँदै आएका छन् । सरकारले कायम गरेको शुल्कमा अध्यापन गराउँदा कलेज घाटामा जाने सञ्चालकहरूको जिकिर छ । छानबिनमा भने अधिकांश मेडिकल कलेज मुनाफामा रहेको पाइएको थियो ।
शुल्क मिलान गर्न निर्देशन गृह र शिक्षा मन्त्रालयको निर्णयलाई आधार मान्दै त्रिविले आफू मातहतका मेडिकल कलेजहरूलाई शुल्क समायोजन वा मिलान गर्न निर्देशन दिएको छ । त्रिवि योजना निर्देशनालयले कात्तिक ८ गते मेडिकल कलेजहरूलाई शुल्क मिलानका लागि पत्राचार गरेको हो । ८ मेडिकल कलेजसहित चिकित्सा शिक्षा अध्ययन संस्थान डिन कार्यालयलाई शुल्क समायोजन वा मिलानको निर्देशन कार्यान्वयन गर्न भनिएको छ । मेडिकल कलेजको शुल्कसम्बन्धी प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको छानबिन उपसमितिले शुल्क मिलान वा समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।
समाचार
साइकलसँगै चुचुरो टेक्ने लक्ष्य
- अजित तिवारी
(जनकपुर) - ख्याउटे शरीर, अग्लो कद । साइकलमा राष्ट्रिय झन्डा, शिरमा नेपाली टोपी । जनकपुर–४ कटैयाचौरीका ३३ वर्षीय रञ्जित साहले साइकलमै सगरमाथाको बेसक्याम्प पुग्ने लक्ष्य सुनाउँदा धेरैले खिसी गरे । सबैजसोको बुझाइमा यो काम अपत्यारिलो थियो । भदौ ९ गते जनकपुरको जानकी मन्दिरबाट उनले पुरानो जमानाको हिरोरोयल साइकलबाट यात्रा थाले । मिल्ने ठाउँमा गुडाउँदै र नमिल्ने ठाउँमा साइकल बोकेरै उनी २७ गते बेसक्याम्प पुगे । र, साइकल त्यहीँ राखेर अठोट गरे, छिट्टै चुचुरो नै चुम्न आउँछु भनेर । साइकल बोकेरै सगरमाथाको चुचुरो टेक्ने हुटहुटी थपिएको छ उनमा । सगरमाथा चढ्ने अभ्यासकै लागि साहले मंगलबार बिहान ७ बजे सोलुखुम्बुको ६ हजार ८ सय १२ मिटर उचाइको आमादब्लम हिमाल आरोहण गरेका छन् । उनी पिक प्रमोसन प्रालिको आरोहण दलमा गएका हुन् । सगरमाथा आरोहणको तयारीका रूपमा आमादब्लम चढेको उनले बताए । टोली आमादब्लमको दोस्रो शिविरबाट सोमबार साँझ ८ बजे शिखरतर्फ बढेको थियो । ९ घण्टापछि शिखर चुम्न सफल भएको पिक प्रमोसन प्रालिका प्रबन्धक आङबाबु शेर्पाले जानकारी दिए । ‘आमादब्लम चढ्न खासै समस्या भएन,’ साहले भने, ‘टोलीका सातै जनामा हिमाल चढ्ने गजबको चाहना थियो । रमाइलो गर्दै पुग्यौं । टार्गेट नै सगरमाथा भएपछि कम उचाइको हिमाल चढ्न मज्जा लाग्दोरहेछ ।’ साहले सगरमाथा बेसक्याम्प, कालापत्थर र आमादब्लमसम्म पुगेर सगरमाथाको ७० प्रतिशत अनुभव बटुलेको बताए । साह साइकल यात्रामार्फत ‘तराई, पहाड, हिमाल, हाम्रो मातृभूमि नेपाल’ भन्ने सन्देश बाँड्छन् । ०७२ सालको मधेस आन्दोलनमा उनले राजनीतिक मुद्दामा समाज बाँडिएको अनुभव गरे । त्यही समाजलाई जोड्न उनले ५ वर्षदेखि साइकल यात्रा थालेका हुन् । यो बीचमा साहले जनकपुरदेखि काठमाडौंको पशुपतिनाथसम्म २ सय २० किमि, जनकपुरदेखि हलेसी महादेवसम्म १८५, जनकपुरदेखि मुक्तिनाथसम्म ५ सय ४४, जनकपुरदेखि पाथीभरासम्म ५ सय ८४ र जनकपुरदेखि भारतको अयोध्या र लखनउसम्म करिब ६ सय किमिको साइकल यात्रा गरिसकेका छन् । पान पसलकै कमाइबाट यात्राको खर्च जुटाइरहेको उनले बताए ।
समाचार
एक हातले पासपोर्टमा छाप, अर्कोले १० हजार
पटकपटकको कारबाहीका बाबजुद अध्यागमन कार्यालयका कर्मचारीले गैरकानुनी रुपमा कामदार विदेश पठाउने धन्दालाई व्यवस्थित ढंगले जारी राखेका छन् ।
- कृष्ण ज्ञवाली
(काठमाडौं) - २०७६ साउन १५ गते बिहान ६ बजे । अध्यागमन अधिकृत कमलप्रसाद पराजुली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रस्थान कक्षमा आफ्नो ड्युटी सम्हाल्न पुग्छन् । विदेश जानेहरूको लाइनमा मिसिएका छन्, प्रभुत्वराज र सम्पन्नता (परिवर्तित नाम) । लाइन अगाडि बढ्दै जाँदा अध्यागमन अधिकृत पराजुलीको संकेतअनुसार दुवै जना उनको डेस्कमा पुग्छन्, पराजुलीले तत्काल पासपोर्टमा छाप हानेर प्रस्थान अनुमति दिन्छन् ।
सीसीटीभी फुटेजमा पराजुलीले आफ्नो डेस्कटप कम्प्युटरबाट नेटवर्किङको तार छुटाएको र खल्तीबाट दुइटा मोबाइल निकालेर अगाडिको टेबुलमा राखेको देखिन्छ । कामदारको पासपोर्टमा छाप लगाउँदा पराजुलीले ती कामदारको पासपोर्ट स्क्यान गर्दैनन् भने अन्य विवरणसमेत सफ्टवेयरमा इन्ट्री गर्दैनन् । हरेक नेपाली नागरिक विदेश भ्रमणमा जाँदा उसको विवरण अनिवार्य राख्नुपर्छ । प्रभुत्वराज र सम्पन्नतालगायतका नेपाली कामदार सिरिया हिँडेका थिए । उनीहरूको पासपोर्टमा कतारको भिजिट भिसा थियो भने अर्को पानामा सिरियाको भिसा थियो । नेपालले श्रम स्वीकृति नदिएको सिरियामा जान लागेका उनीहरूलाई अध्यागमन अधिकृतले रोक्नुपर्ने थियो तर उनीहरू सहजै कतार उडे । साउन १५ गते बिहान करिब २५ मिनेटको अवधिमा पराजुलीले प्रभुत्वराज र सम्पन्नतालगायत २६ पुरुष र २३ महिला गरी ४९ जनालाई विदेश ‘उडाए’ । पछिल्ला दुई महिनाको अनुसन्धान र छानबिनबाट त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका केही कर्मचारीले ‘घूस खाएर’ अवैध कामदारलाई विदेश पठाउने धन्दा कायमै राखेको खुलेको हो । उनीहरूले प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले ‘घूस’ लिएर नेपालले श्रम स्वीकृति नदिएका मुलुकहरूमा कामदार पठाइरहेका थिए । ‘नेपालले कतिपय खाडी मुलुक र जोखिमयुक्त देशमा कामदार पठाउन श्रम स्वीकृति दिँदैन,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको आरोपपत्रमा भनिएको छ, ‘अध्यागमनका केही कर्मचारीले कामदारलाई सेटिङमा विदेश जान अनुमति दिने (पासपोर्टमा छाप हान्ने) गरेको भेटियो, प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले अनुचित लाभ लिएको सप्रमाण पुष्टि भएको छ ।’ नेपालले कुवेत, सिरियालगायतका मुलुकमा श्रम स्वीकृति दिएको हुँदैन । कुवेतमा हाउस मेड (घरेलु कामदार) का रूपमा श्रम स्वीकृति छैन । उनीहरूको पासपोर्टमा श्रम स्वीकृतिको स्टिकर पनि हुँदैन । ‘दुबई, कतारजस्ता मुलुकमा भिजिट भिसा लगाउने अनि त्यहींबाट श्रम स्वीकृति नलिएका मुलुकमा जाने गरेका व्यक्तिलाई निर्वाध रूपमा अध्यागमनबाट पठाउने गरेको भेटियो,’ अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले कान्तिपुरसित भने, ‘पासपोर्टमा भिजिट भिसाको स्टिकर टाँसेको अर्को पानामा अवैध मुलुकको पनि भिसा हुन्छ तर अध्यागमन अधिकृतहरूले हेर्दै नहेरी धमाधम कामदार पठाएको भेटियो ।’
तार थुतेर धन्दा साउन १५ गतेको शंकास्पद धन्दा अध्यागमन अधिकृत पराजुलीबाट सुरु भयो । आफ्नो कम्प्युटरबाट नेटवर्कको तार थुतेर दैनिकी सुरु गरेका उनले मोबाइल निकाले अनि लाइनमा रहेका मान्छे छानी–छानी बोलाउन थाले । उजुरी परेपछि छानबिनका क्रममा अस्वाभाविक गतिविधि गरेको र ‘इमी सिस्टम’ मा विवरण अद्यावधिक नगरी कामदारको पासपोर्टमा छाप हानेको खुल्यो । त्यसपछि अध्यागमन विभागले चिठी काटेर अख्तियारलाई अनुसन्धानका लागि आग्रहसहित पत्र लेख्यो । त्यही पत्रलाई आधार मानी अनुसन्धान गर्दा अख्तियारले त्यस दिन ६ घण्टामा उनले २६ पुरुष र २३ महिलालाई प्रस्थान अनुमति दिएको खुलेको हो । ‘उनले पटकपटक आफ्नो टेबल छाडेको, कागजपत्रसमेत परीक्षण नगरेको, लाइनमा बसेका महिलालाई आफूतर्फ आउन संकेत गरेको देखियो,’ अख्तियारको आरोपपत्रमा भनिएको छ । अध्यागमन अधिकृतहरूले विदेश जाने र फर्कने हरेक नेपालीको विवरण ‘इमी सिस्टम’ सफ्टवेयरमा ‘इन्ट्री’ गर्नुपर्छ । त्यस क्रममा डाटा इन्ट्री गर्ने कामदार र उनीहरूलाई विदेश जान स्वीकृति दिने कर्मचारीको पनि विवरण अभिलेखमा रहन्छ । अध्यागमनका कर्मचारीले भने नाम इन्ट्री नगरी छाप हानेको भेटिएको हो । ‘अध्यागमनको अभिलेखमा ती व्यक्तिको नाम छैन तर त्यही दिन उडेको विमानका यात्रुको विवरणमा उनीहरूको नाम भेटियो,’ अख्तियार स्रोतले कान्तिपुरसित भन्यो, ‘अवैध कामदारको विवरण नै नराखी पासपोर्टमा छाप हान्दा रहेछन् ।’ नेपालको सुरक्षा घेरा पार गरेपछि ती कामदारमाथि सम्बन्धित मुलुकमा कुनै रोकतोक हुँदैन । ‘जोखिमपूर्ण मुलुकमा हुने मानव तस्करीमा सरकारी कर्मचारीसमेत संलग्न हुनु निकै दुर्भाग्यपूर्ण हो,’ अख्तियारका एक अधिकारीले भने । दुइटा मोबाइल सेटिङमा कामदार पठाउने अध्यागमन अधिकृतहरूले दुइटा मोबाइल बोक्ने गरेको खुलेको छ । एउटा औपचारिक नम्बर अध्यागमन कार्यालयका साथै परिवारका सदस्य र अरूले समेत थाहा पाएका हुन्छन् । अज्ञात व्यक्तिको नामबाट निकालिएको सिमकार्ड प्रयोग गरिएको अर्को नम्बर ‘स्मार्ट फोन’ मा राखेर चलाउँछन् । त्यसका माध्यमबाट भाइबर, ह्वाट्स एप प्रयोग गरी सेटिङका कामदारको सूची पठाउँछन्, उनीहरूलाई अवैध कामदारबारे सूचना दिन्छन् । त्यस्ता फोनबाट उनीहरूले म्यानपावरका संयन्त्रसम्म सूचना आदानप्रदान गर्ने गरेको खुलेको छ । सुरक्षा प्रणाली चुस्त बनाउन र अवैध सेटिङ रोक्न अध्यागमन कार्यालयले आफ्ना अधिकृतहरूको जिम्मेवारी आधा घण्टा अगाडि मात्रै तोक्ने गर्छ । गोलाप्रथाबाट जिम्मेवारी तोकिने भएकाले एउटा कर्मचारीको ड्युटी अनुमान गरिएभन्दा फरक ठाउँमा पनि पर्न सक्छ । तर उनीहरूले एक–अर्कामा मिलेमतो गरी कामदारलाई विदेश पठाउने धन्दालाई जारी राखेको भेटिएको हो । पराजुली पक्राउ परेपछि अख्तियारले सबभन्दा पहिले उनको मोबाइल नियन्त्रणमा लिएको थियो । उनले औपचारिक रूपमा बोक्ने र कार्यालयमा समेत रेकर्ड रहेको मोबाइलमा त्यस्तो शंकास्पद गतिविधि भेटिएन । उनको नाममा दर्ता नभएको तर उनैले बोकेको मोबाइलमा भने अनेक सूचना आदानप्रदान भएको फेला पर्यो । म्यासेजमा धेरैजसो व्यक्तिको नाम र उनीहरूको विवरण थियो । कतिपयमा सूची नै थियो । ती नाम म्यासेज आएको केही दिनलगत्तै विदेश जाने कामदारको सूचीमा हुबहु मिलेको भेटियो । अध्यागमनको अभिलेखमा भने ती नाम थिएनन् । अख्तियारले विशेष अदालतमा करिब १५ पेज लामो टेलिफोन विवरण नै पेस गरेको छ । ॅसुरक्षित’ सेटिङ २०७० सालदेखि हालसम्म अख्तियारले त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा तीनपटक सामूहिक रूपमा कर्मचारी पक्राउ गरी मुद्दा चलाएको छ । अवैध कामदार विदेश पठाउन आफ्नै मोबाइल प्रयोग गर्ने कर्मचारीले अहिले भने अर्कै मोबाइल प्रयोग गरेर आफ्नो अभियानलाई सुरक्षित बनाएको भेटिएको हो । ‘एकातिर विदेश जाने व्यक्तिहरूको विवरण अध्यागमनको सफ्टवेयरमा इन्ट्री नै नगरी प्रमाण लोप गर्ने, अर्कोतर्फ अर्कैको नाममा रहेको दोस्रो मोबाइल मात्रै प्रयोग गरेर कामदार पठाउने गरेको भेटियो,’ विशेष अदालत स्रोतबाट कान्तिपुरलाई प्राप्त आरोपपत्रमा भनिएको छ, ‘यो सबै प्रमाण लोप गर्ने योजनाबद्ध कदम हो ।’ पराजुलीको मोबाइलबाट आदानप्रदान भएका म्यासेज केलाएपछि अख्तियारले थप १२ कर्मचारीको जालो पत्ता लगाएको छ । त्यसमा दुई जना कम्प्युटर अपरेटरसमेत छन् । पराजुलीको अवैध मोबाइलमा दोहोरो सम्पर्क नभएकाहरू ‘अनुसन्धानको दायरामा नतानिएको’ भन्दै अख्तियारले ‘थप अनुसन्धान अघि बढाउने’ निर्णय गरेको छ । अध्यागमन विभाग सम्बद्ध स्रोतका अनुसार सीसीटीभी फुटेजबाट सूचना नखुलेको भए अवैध रूपमा कामदार पठाउन सहयोग गर्ने कर्मचारीले सबैजसो प्रमाण लोप गरिसकेका थिए । उनीहरूले आफ्नो ड्युटीमा प्रयोग गर्ने दोस्रो सेटसमेत लुकाउने गरेको खुल्यो । एक जनाले यिनै कामदारहरूले विदेश जाँदा छाडेका सिमकार्डसमेत प्रयोग गरेको खुल्यो । अध्यागमनको अभिलेखमा समेत कुन कर्मचारीले ती कामदार विदेश पठाउन स्वीकृति दिए भन्ने अभिलेख गायब बनाएकाले ‘सुरक्षित ढंगले सेटिङ गरेको’ अख्तियारको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । चार महिनामा २४८ अख्तियारले दैनिक कुन दरमा कस्ता कामदार सेटिङमा विदेश पठाइन्छ भन्ने पाटो खुलाउन सकेको छैन । पछिल्लो अनुसन्धानबाट करिब ४ महिनामा मात्रै २ सय ४८ जना कामदार सेटिङबाट विदेश पठाइएको देखिन्छ । उनीहरूको विवरण अध्यागमनको अभिलेखमा समेत छैन । मोबाइलबाट आदानप्रदान भएका सूचनाबाट चार महिनाको अवधिमा १ सय ९९ नेपाली कामदार सेटिङबाट बाहिर पठाइएको खुलेको हो भने साउन २५ गतेको सीसीटीभी फुटेजबाट ४९ जनालाई अवैध रूपमा पठाइएको खुल्यो । अध्यागमन कार्यालयमा ‘इमी सिस्टम’ मा बारम्बार समस्या आउने र बिग्रने गरे पनि कर्मचारीहरूको दोस्रो मोबाइल भने निकै सक्रिय हुने गरेको अध्यागमन स्रोतले बतायो । अनुसन्धानको दायरामा परेका प्रमुख पात्र पराजुलीले बयानका क्रममा ‘मिलेमतोमा प्रस्थान अनुमति दिलाउँदा सधैं आफ्नो मात्रै ड्युटी नपर्ने’ भन्दै त्यस काममा अरू पनि संलग्न रहेको संकेत दिएका छन् । उनले बयानमा भनेका छन्, ‘सबैसँग मिलेर काम गर्दा प्रतिव्यक्ति १० हजार आउँथ्यो । हामीले त्यस्तो रकम आफू आफूमा बाँडेर लिने गरेका थियौं ।’ उनले सेटिङका योजनाकार भनी खेम सुनुवाइको नाम लिए तर अख्तियारले उनको पहिचान गर्न सकेन । अख्तियारले पराजुलीसहित अध्यागमनका कर्मचारीहरूमाथि ‘गलत लिखत तयार गरी’ भ्रष्टाचार गरेको आरोप लगाएको छ । पराजुलीले अध्यागमन र नेपाल वायुसेवा निगमका अन्य कर्मचारीको नाम लिए पनि उनीहरूको संलग्नता नभेटिएको अख्तियारको विवरणमा उल्लेख छ । अख्तियारले उनीहरूसँग २४ लाख ८० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । प्रमाण नष्ट गरेको आरोपमा थप सजायको मागसमेत गरेको छ । अख्तियारले १३ जनाविरुद्ध आरोपपत्र दर्ता गरेको भए पनि पराजुली मात्र पक्राउ परेका छन् ।
प्रदेश समाचार
फूल नपाएपछि प्लास्टिकको माला
- कान्तिपुर संवाददाता
कपिलवस्तु (कास)– बुद्धभूमि नगरपालिका, बकडरियाकी शान्ति चौधरीले सातासम्म सहरबजार पुगेर मखमली र सयपत्री फूल खोजिन् । उनले पाइनन् । अन्त्यमा लक्ष्मी पूजाका दिन तौलिहवा बजार गएर चार सय रुपैयाँमा दुईवटा प्लास्टिकका माला किनेर ल्याइन् । दाजुभाइको गला सजाइन् । उनीजस्तै जहदीकी उर्मिला क्षत्रीले मखमली र सयपत्री फूल खोज्दा पाइनन् । जितपुर गएर प्लास्टिकका माला किनेर काम चलाइन् । मखमली र सयपत्री फूल नपाएपछि भाइटीकामा विभिन्न किसिमका प्लास्टिकका मालाले बजार भरिएको थियो । जतासुकै प्लास्टिकका मालाका पसल थिए । भाइटीमा लगाउने फूल पाउन छाडेपछि भारतबाट आयातित कृत्रिम मालाको व्यापार बढेको हो । सदरमुकाम तौलिहवा, प्रमुख व्यापारिक केन्द्र कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे र जितपुर बजार प्लास्टिक मालाले भरिएका थिए । सीमाका सबै बजार कृत्रिम मालाले भरिएका थिए । खरिद गर्नेको उस्तै घुइँचो थियो । स्थानीय स्तरमा फूल उत्पादन हुन सकेन । बाहिरबाट ल्याउँदा महँगो पर्ने भएकाले फूलका माला नपाइएको हो । शिवराज नगरपालिका–५, नौडिहवामा पहिलोपटक गरिएको सयपत्री फूल खेती पनि समयमा तयार भएनन् । थोरै फूल बाहिर पठाइयो । जेनतेन पाएर बिक्रीका लागि ल्याइने फूल पनि धेरै दिन राख्न नमिल्ने हुँदा मखमली र सयपत्री फूलका माला नपाइएको व्यापारीले बताए । ‘जिल्लाका कुनै पनि ठाउँमा मखमली र सयपत्रीका माला पाइएन,’ निग्लिहवाकी लीला गिरीले भनिन्, ‘त्यही भएर तीन भाइकै लागि बजारबाट प्लास्टिकका माला किनेर लगाइदिएँ ।’ कृत्रिम माला आकर्षक हुने तौलिहवाका माला व्यवसायी बृजेश भट्टराईले बताए । ‘देख्दा मनमोहक, हलुका र सस्तो हुन्छ,’ उनले भने, ‘यसपटक धेरैले कृत्रिम माला किने ।’ प्लास्टिकको एउटा माला ५० देखि ५ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । ‘दुई साता बढी मालाको व्यापार भयो,’ चन्द्रौटाका व्यवसायी अजय चौधरीले भने, ‘एक लाख बढीको बेचें ।’ जताततै रंगीचंगी कृत्रिम मालाले बजार ढाकिएको थियो । बजारै मालामय बनेको थियो । तौलिहवाका माला व्यापारी हरिराम कान्दुले दुई सातामै ५० हजारभन्दा बढीको माला बेचेको बताए । उनले कृत्रिम माला बेच्ने र खरिद गर्ने दुवैलाई सजिलो हुने हुँदा व्यापार बढेको दाबी गरे ।
प्रदेश समाचार
सुरु भयो छठ
- कान्तिपुर संवाददाता
पर्सा (कास)– अहिले तराई छठको स्वागतमा होमिएको छ । बजारमा किनमेल गर्ने व्रतालु र तिनका परिवारका सदस्यको भीड बढेको छ । यहाँका छठ घाट बेहुलीझैं सिंगारिन थालेका छन् । स्थानीय एफएमहरूबाट छठका गीत प्रसारण हुन थालेका छन् । चोक–चोकमा माइक लगाएर छठ गीत गञ्जिएका छन् । रोजगारी, शिक्षा तथा अन्य कारणले स्वदेश तथा विदेशमा रहेकाहरू क्रमशः घर फर्कन थालेका छन् । घरघरमा छठ पुजाको प्रसाद पकाउन प्रयोग गरिने पिठो तयार पार्न गहुँ सुकाउने काम भइरहेको छ । पशुपक्षीलाई बिटुल्याउन नदिन व्रतालु तथा तिनका परिवारका सदस्य दिनभरि घाममा बसेर भए पनि गहुँ सुकाउने गर्छन् । यस वर्ष बिहीबारदेखि छठ पर्व विधिवत् रूपमा सुरु हुँदै छ । लामो समयदेखि यो ब्रत लिँदै आएकी वीरगन्ज गहवाकी मीना देवीका अनुसार बिहीबार व्रतालुहरूले स्नान गरी शुद्ध चोखो ‘नहाखाय’ विधि गर्नेछन् । उनीहरूले लौकाको तरकारीसँग भात खाने चलन छ । शुक्रबार व्रतालुहरूले स्याउ र रोटी खाने विधि ‘खरना’ गर्नेछन् । साँझ सख्खरमा पकाएको खिर र रोटी खाएर उनीहरू शनिबार दिनभरि भोकै बसी साँझ घाटमा गई पूजाअर्चना गर्छन् । ब्रतालुले शनिबार साँझ अस्ताउँदो र आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठलाई विधिवत समापन गर्छन् । व्रतालुले पानीमा उभिएर भक्तिपूर्वक पूजा गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई नरिवल, गंगाजल आदिको अर्घ्य दिन्छन् । यो व्रत तथा यसका विधि पूरा गर्न व्रतालुहरूलाई उनीहरूका परिवारका सदस्यले पनि सघाउँछन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने सूर्य आराधनाको यस पर्वलाई ‘छठ’ भन्ने चलन छ ।
प्रदेश समाचार
सरायमा झुम्यो प्यूठान
- कान्तिपुर संवाददाता
प्यूठान नगरपालिका ७, डल्लेमा बुधबार नाचिएको ऐतिहासिक सराय नाच ।तस्बिर ः गिरुप्रसाद भण्डारी/कान्तिपुर
प्यूठान (कास)– जिल्लाकै ऐतिहासिक डल्ले सराय नाच बुधबार सकिएको छ । प्यूठान नगरपालिकाका विभिन्न स्थानबाट सराय नाच लिएर आएकाहरूले प्यूठान ७ स्थित डल्लेमा नाच प्रदर्शन गरेका हुन् । नगरपालिकाले नाचको व्यवस्थापन गरेको थियो । डल्ले सराय नाचको व्यवस्थापनका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । राम्रो नाच देखाउने टोलीलाई पुरस्कार दिने गरी सराय टोलीबीच प्रतिस्पर्धा गराइएको थियो ।
प्यूठानमा नाचिने सराय नाचमध्ये डल्लेमा नाचिने नाच जिल्लाकै सबैभन्दा ठूलो हो । दसैं/तिहारसँगै प्यूठानमा नाचिने सराय नाचले गाउँगाउँमा बेग्लै रौनक छाउने गर्छ । हरेक वर्ष भाइटीकाको भोलिपल्ट डल्लेमा सराय नाचिन्छ । दसैंको नवमीको दिन जिल्लाका कोटघरमा सराय नाच निकाल्ने चलन छ । कोजाग्रत पूर्णिमाको दिन विभिन्न स्थानमा सराय नाच हुन्छ । दसैं/तिहार मनाउन देश/विदेशबाट घरमा आएकाहरू डल्ले, बडारपाटाको सराय हेरेर मात्र फर्कने चलन छ । बडारपाटाको सराय भाइटीकाको दुई दिनपछि लाग्छ । दसैंमा शक्तिकी प्रतीक दुर्गा भवानीको पूजा गरेर शत्रुलाई देखाउन सराय नाच्ने चलन प्यूठानमा पन्ध्रौं शताब्दीदेखि रहेको संस्कृतिविद् गितु गिरीले बताए । डल्लेमा लाग्ने सराय नाच हेर्न रोल्पा, दाङ, गुल्मी, अर्घाखाँचीबाट समेत हजारौंको संख्यामा दर्शनार्थी आएका थिए ।
प्रदेश समाचार
पर्यटकलाई भाइटीका
- कान्तिपुर संवाददाता
पोखरा (कास)– विदेशी पर्यटकले पोखरामा बालगृहका छात्रासँग भाइटीका लगाएका छन् । पश्चिमाञ्चल होटल संघले तिहारका अवसरमा मंगलबार आयोजना गरेको भाइटीका महोत्सवमा पर्यटकले भाइटीका लगाएका हुन् । महोत्सवमा विभिन्न देशका ३० पर्यटकले भाइटीका लगाए । लेकसाइडको बटरफ्लाई चाइल्ड केयर सेन्टरमा भएको महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई टीका लगाइदिए । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले १३औं भाइटीका महोत्सव आयोजना गरिएको होटल संघ अध्यक्ष विकल तुलाचनले बताए । भाइटीका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षका पर्यटकहरू दोहोरिएरसमेत टीका लगाउन पोखरा आउन थालेको महोत्सवका संयोजक दीपक श्रेष्ठले सुनाए ।
रमाए कैदीबन्दी लमजुङ– जिल्ला कारागारमा कैदी जीवन बिताउँदै आएका राजन पोख्रेलको अनुहार बिहानैदेखि उज्यालो थियो । दिदी दिलशोभाले कारागार परिसरमा भाइटीका लगाइदिएपछि उनले खुसीको आँसु थाम्न सकेनन् । बहिनी गीकुमारी गुरुङको हातबाट कारागारमै भाइटीका लगाउन पाउँदा तीर्थ घले पनि खुसी थिए । पोख्रेल र घले जस्तै कारागारमा मंगलबार २५ पुरुष कैदीबन्दीले दिदीबहिनीको हातबाट टीका लगाए ।
प्रदेश समाचार
विद्यालय भवनमा गाउँपालिका
- कान्तिपुर संवाददाता
खोटाङ (कास)– केपिलासगढी गाउँपालिकाले विद्यालयको भवनबाट कामकाज गरिरहेको छ । आफ्नो भवन नभएपछि पृथ्वी माविको भवनबाट कामकाज गरिरहेको हो । आफ्नो भवन नभएकाले विद्यालयको भवनबाट कामकाज गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । राईका अनुसार उपाध्यक्षको कार्यकक्ष, सभाहल, वडा नं ४ को वडा कार्यालय स्कुलकै भवनमा सञ्चालन भएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा लगायतको कार्यकक्ष साविक गाविसको भवनबाट सञ्चालन भइरहेको राईले सुनाए । ‘विद्यालयको भवन पर्याप्त छ,’ अध्यक्ष राईले थपे, ‘आगामी वर्ष आफ्नै भवनबाट कार्यसम्पादन सुरु गरिन्छ ।’ राईका अनुसार १२ कक्षासम्मका लागि छ वटा विद्यालय भवन भएकाले विद्यालयलाई कुनै समस्या छैन । गत वर्षबाट गाउँपालिकाको भवन निर्माणमा बजेट विनियोजन गरे पनि भवन अपूरै छ । गाउँपालिकाले ३ करोड २२ लाख रुपैयाँको लागतमा भवन बनाउने योजना बनाएर उपभोक्ता समितिमार्फत क्रमागत रूपमा खर्च गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए ।
प्रदेश समाचार
डोजरबाट खसेर ज्यान गयो
- कान्तिपुर संवाददाता
सल्यान (कास)– बाग्चौर नगरपालिकाबाट दार्मा गाउँपालिका ६, गोठीवन जाँदै गरेको रा१क ८१४ नम्बरको डोजरबाट खसेर सोमबार २२ वर्षीय चालक शिवराज बस्नेतको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवन गरेपछि उनले सहचालक चित्रबहादुर बुढाथोकीलाई डोचर चलाउन दिएका थिए । दार्मा गाउँपालिका ६, गोठीवनका बस्नेतको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी ढकेन्द्र खतिवडाले बताए ।
प्रदेश समाचार
बेलायती पर्यटक मृत भेटिए
- कान्तिपुर संवाददाता
विराटनगर (कास)– खुम्बु क्षेत्र भ्रमणका लागि आएका एक बेलायती नागरिकको मृत्यु भएको छ । कात्तिक ७ गते बेलायतबाट आएर खुम्बु क्षेत्र भ्रमणमा रहेका ५४ वर्षीय केलिनु जोसेफ क्रिस्टोफरको हिमालयन चेन रिसोर्टमा सुतेकै स्थानमा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश समाचार
बेग्लाबेग्लै घटनामा ३ को मृत्यु
- कान्तिपुर संवाददाता
विराटनगर (कास)– मोरङ, इलाम र संखुवासभामा भएका बेग्लाबेग्लै दुर्घटनामा मंगलबार तीन जनाको मृत्यु भएको छ । मोरङको सुन्दर हरैंचा नगरपालिका ९ मा को.२९प २७८४ नम्बर मोटरसाइकल र को.३२प ८७५० नम्बर स्कुटर जुध्दा मोटरसाइकल चालक मेची नगरपालिकाका एलिस भारतीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक सप्तरी महुलीका निश्चल भारती र पछाडि सवार प्रमिला गिरी घाइते छन् । उता, इलामको मानेचोकमा मे७प २०७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय सञ्जय कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । पछाडि सवार सुमन राई घाइते छन् । यसैबीच, संखुवासभाको धर्मदेवी नगरपालिका ४ का ५९ वर्षीय गोविन्द सोम्याहाङको रूखबाट लडेर मृत्यु भएको छ ।
प्रदेश समाचार
चित्रगुप्त कलमको मूल्य १ लाख
- कान्तिपुर संवाददाता
राजविराज (कास)– एउटा कलमको मूल्य १ लाखभन्दा माथि भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । तर, सप्तरीको राजविराजमा मंगलबार एउटा कलम १ लाख १ सय ५ रुपैयाँमा कबोल गरिएको छ । चित्रगुप्त पूजाका अवसरमा मंगलबार राजविराजस्थित चित्रगुप्त मन्दिरमा भएको डाक बढाबढमा चित्रगुप्तको प्रतिमाको हातमा रहेको कलमको उल्लिखित मूल्य कबोल गरिएको हो । प्रत्येक वर्ष भाइटीकाका दिन चित्रगुप्त पूजा गरिन्छ । राजविराज नगरपालिका ८ की रेखादेवी कर्णले सो रकममा कलम लिएको चित्रगुप्त सेवा समितिका महासचिव सतिशकुमार दत्तले जानकारी दिए । विगत ४० वर्षदेखि हरेक वर्ष चित्रगुप्त पुजाका अवसरमा वर्षभरि प्रतिमाको हातमा रहने कलमको डाक बढाबढ हुने गरेको छ । गतवर्ष चित्रगुप्तको कलम ६३ हजार ५ सय ५५ रुपैयाँमा बिक्री भएको थियो ।
समाचार
उम्मेदवार छान्न कांग्रेस बैठक
- कान्तिपुर संवाददाता
काठमाडौं (कास)– प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंसिर १४ गते हुने उपचुनावका लागि पार्टीका उम्मेदवारहरूको नाम टुंगो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठकमा जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टी समितिहरूले सिफारिस गरेका नामावलीमाथि छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने पदाधिकारी बैठकमा उपचुनाव हुने प्रदेश र जिल्लामा पार्टीको जागरण अभियानमा खटिएका प्रतिनिधिहरूसमेत सहभागी हुनेछन् । बैठकमा समसामयिक राजनीति, उपचुनावमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत एजेन्डामा समेत छलफल हुनेछ । पदाधिकारी तहको छलफलमा हुने सहमतिका विषयमा निर्णय गर्न कांग्रेसले शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । उपचुनाव हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरिसकेका छन् । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा धरान उपमहानगरका प्रमुख एक, गाउँपालिकाका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुँदै छ ।
समाचार
‘छरपस्ट कानुन एकीकरण गर’
- कान्तिपुर संवाददाता
काठमाडौं (कास)– कानुनको संख्या धेरै र छरपस्ट भएपछि संसदीय समितिले तिनको एकीकरण गरी सकेसम्म थोरै कानुन बनाएर जनतामाझ पुर्याउन सुझाएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मौजुदा कानुनहरूको अध्ययन गरी तिनलाई एकीकरण गरी चुस्त बनाउन र तिनको जानकारी आम जनतामाझ गराउन सरोकार निकायहरूलाई सुझाव दिएको हो । समितिले कानुनहरूको पुनरावलोकन गर्नुपर्नेमा जोड दिँदै हरेक प्रकारका कानुनलाई जनताले सरल र सहज रूपमा प्राप्त गर्ने बनाउनसमेत सरोकार निकायहरूलाई भनेको छ । ‘कानुनको मान्य सिद्धान्तले कानुनको अनभिज्ञता क्षम्य हुँदैन भनिन्छ । यसको अर्थ कानुनको जानकारी आम जनतासमक्ष राज्यले समयमै पुर्याउनु हो,’ विधायन समितिले आफ्नो वार्षिक प्रतिवेदनमा लेखेको छ, ‘तर कानुनहरू आम जनतामाझ पुर्याउनका लागि प्रभावकारी व्यवस्थाको कमी देखिन्छ ।’ विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले कानुन बनाएर मात्र हुँदैन भन्दै तिनको कार्यान्वयनको अवस्था र जनतामाझ पुगे/नपुगेको हेर्नुपर्ने बताए । ऐनहरू राजपत्रमा प्रकाशित हुने भए पनि अन्य कानुनहरू प्रकाशित नहुने भएकाले तिनलाई एकीकृत गरी प्रकाशन गर्न र जनताले सहज रूपमा प्राप्त गर्ने बनाउन समितिले जोड दिएको हो । समितिले ऐन, नियमावली, विनियमावली, कार्यविधि, निर्देशिकालाई एकीकृत गर्न र तिनलाई अनलाइनमा राख्नसमेत सरोकारवाला निकायहरूलाई सुझाएको छ । नेपाल कानुन आयोगको वेबसाइटअनुसार मौजुदा ऐन ३ सय ३९ र नियमावलीको संख्या ३ सय २९ र ३४ वटा गठन आदेश छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मन्त्रालय, विभागदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकायका विनियमावली, कार्यविधि, निर्देशिका के कति छन् भन्ने यकिन छैन ।
समाचार
म्हःपूजामा विदेशी
पाटन दरबार क्षेत्रमा १० देशका ४५ विदेशीले पहिलोपटक सुकुलमा बसेर नेवारी परम्पराअनुसार म्हःपूजा गरे
- प्रशान्त माली
ज्यापू समाज यलले पाटन दरबार क्षेत्रमा गरेको म्हःपूजामा सहभागी विदेशी । १० देशका ४५ विदेशी नागरिकले पहिलोपटक नेवारी परम्पराअनुसार म्हःपूजा गरेका छन् । तस्बिर ः कान्तिपुर
(ललितपुर) - शिरमा ढाका टोपी लगाएर लहरै बसेका विदेशी । सम्मुखमा एक–एक मन्दः (मण्डल) । मन्दमा आँखे, वा (धान), हाकु मुस्या (कालो भटमास), ग्वः गु माय् (मास) । अघिल्तिर तःसी (बिमिरो), झमसी, आमासी, पासी, खोसी (ओखर), केरा, अम्बा, भोगटेलगायत फलफूल । तःसीमाथि खेलु इताः, तपुगु जंजका, स्वामाः स्वा (फूलको माला) । मन्दमा सुरुमा थकालीलाई बस्न लगाइयो । त्यसपछि क्रमशः अन्य व्यक्ति बस्न थाले । थकालीलाई शंखको पानीले चोख्याई सुकुन्दा, बिमिरोलगायत फलफूलको पूजा गरी अर्घ्य दिन लगाइयो । यो रौनकसँगै उत्सव सुरु भयो । त्यसपछि सबैले पालैपालो पूजा गरे । सगुनमा धौ, खेय् र न्या (दही, अन्डा, शुक्ति माछा) देखेपछि विदेशीहरू मुखामुख गर्न थाले । अधिकांश त सलिचा (माटोको कचौरा) मा लोकल रक्सी र जाँडमा रमाइरहेका देखिन्थे । नेवारी परम्पराअनुसार सगुनमा रक्सी वा जाँडमध्ये एक अनिवार्य लिनुपर्छ । ज्यापू समाजका उपाध्यक्ष सन्तमान महर्जनले विधिपूर्वक म्हःपूजा गरे संकट निर्मूल हुने र जगत्मा शान्ति हुने धार्मिक विश्वास रहेको बताएपछि उनीहरू थप हौसिए । नेवार जातिले तिहारमा म्हःपूजा अथवा आफ्नो शरीरको आफैंले पूजा गरी सुगन (हाँस वा कुखुराको फूल) लिई आपसमा ‘न्हू दँया भिन्तुना’ (नयाँ वर्षको शुभकामना) आदानप्रदान गर्ने गर्छन् । यस वर्ष ललितपुरमा भने फरक दृश्य देखियो । पाटन दरबार क्षेत्रमा विभिन्न १० देशका ४५ विदेशीले पहिलोपटक सुकुलमा बसेर नेवारी परम्पराअनुसार म्हःपूजा गरेका छन् । उनीहरूलाई यो अवसर ज्यापू समाज यलले जुटाएको हो । सोमबार साँझ इटली, फ्रान्स, स्विट्जरल्यान्ड, अमेरिका, स्विडेन, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, नर्वे, स्पेनलगायत देशका नागरिक म्हःपूजामा सहभागी भए । नेवारको ठूलो चाड हो स्वन्तिः (तिहार) । नयाँ कार्य सुरु गर्नेबेला सफलताको कामना गरेर शान्तिस्वस्ति गर्ने चलन छ । स्पेनका किलियन जर्नेटले म्हःपूजामा सहभागी हुन पाउँदा खुसी व्यक्त गरे । ‘यस्ता कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्नुपर्छ,’ उनले भने, ‘नेपाली परम्परा अन्तराष्ट्रियस्तरमा समेत पुगेको छ, यस्ता आकर्षणले विदेशीलाई तान्छ, जसको फाइदा नेपालको अर्थतन्त्रमा पुग्छ ।’ एउटा जातीय संस्थाले मात्र नभई राष्ट्रले नै योजनाबद्ध तरिकाबाट यसखाले कार्यक्रम आयोजना गर्न सुझाए । विदेशीहरूलाई पूजा गर्न लगाउँदा सम्यक सम्बुद्धका रूपमा आएका पुष्पकेतु राजालाई नमस्कार गरी स्वा (फूल), धू, धूप, सिन्ह, जाकी (अक्षता), चिउरा, मोही, फलफूल, पेय पदार्थ र दक्षिणा राखी मन्त्र पनि वाचन गरिएको थियो । ज्यापू समाजका उपाध्यक्ष महर्जनले राष्ट्रिय विभूति शंखधर साख्वाले देशका जनतालाई ऋण मुक्त गराएको सम्झनामा भाइटीकाका दिनबाट नेपाल संवत् फेरिने गरेको सुनाए । नेपाल सम्वत् ११४० सुरु भएको बताएपछि विदेशीहरूले ‘ह्याप्पी न्यु इयर’ भन्दै एक–आपसमा खुसी साटे । यमपञ्चकको पाँचौं वा अन्तिम दिन भाइटीका गर्ने चलन छ । प्रायः नेवारहरूले भने बुधबार भाइटीका लगाए । संस्कृतिविद् हरिराम जोशीका अनुसार म्हःपूजा जस्ता उत्तम कार्य कृष्णपक्षभन्दा शुक्लपक्षमा गर्ने गरिन्छ । म्हःपूजाको रात समूहगत रूपमा परम्परागत भाकामा गीत गाउँदै देउसी–भैलो खेल्ने चलन छ । नेपालमा म्हः (शरीर) लाई महत्त्व दिई पूजा गर्ने सिद्धान्त लीलाबज्रले प्रतिपादन गरेको कथन रहेको संस्कृतिविद् जोशी बताउँछन् । लीलाबज्र लिच्छविकालीन समयका हुन् । उनी तक्षशीला, विक्रमशील महाविहारका प्राध्यापक हुन् । द्यःपिनिगु (देवता) को मूर्तिमा तान्त्रिक शक्तिद्वारा जीवन्यास गर्ने व्यक्ति हुन् । हाम्रो शरीरमा सबै देवीदेवता र तीर्थस्थलहरू रहेको महत्व बुझेर म्हःपूजा गरिएको जनविश्वास छ । ज्यापू समाजका उपाध्यक्ष महर्जनले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर म्हः पूजा आयोजना गरिएको बताए । म्हःपूजाका दिन वसन्तपुरबाट सुरु भएको झाँकीसहितको र्याली जैसीदेवल–लगन–न्हुमट–कोहीहिटी–भीसमेस्थान–यत्खा–नरदेवी–टेंगल–असन–इन्द्रचोक भई पुनः वसन्तपुर पुगेर टुंगिएको थियो ।
समाचार
‘हाई प्रोफाइल’ जुवाडेलाई अदालतले छाडेन
- कान्तिपुर संवाददाता
(काठमाडौं) - बन्दी प्रत्यक्षीकरणको छुट्टाछुट्टै निवेदन दिएका जुवाडेलाई सबैको एकैसाथ म्याद तामेल गरेर हाजिर गराउन सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ । भाइटीकाको अघिल्लो दिन काठमाडौंको महाराजगन्जबाट २ करोड ६७ लाख रुपैयाँसहित जुवाको खालबाट नियन्त्रणमा लिइएका २५ जनामध्ये १४ जनाले प्रहरीले गरेको पक्राउ गैरकानुनी भन्दै सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा उक्त आदेश आएको हो । महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले विक्रम गौतमको घरमा चलिरहेको जुवा खालमा छापा मारी निर्माण व्यवसायी, ठेकेदार, व्यापारीलगायत ‘हाई प्रोफाइल’ जुवाडेहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै बलराम सापकोटा, मुक्ते लामा, पवित्रकुमार कार्की, विक्रम गौतम, पवनकुमार गुप्ता, श्रवणकुमार गोयल ६ जना, इन्द्र श्रेष्ठ, प्रेम थापा मगर, अशोक श्रेष्ठ, रामकृष्ण केसी गरी ४ जना र शम्भुबहादुर बुढाथोकी, होम चौलागाईं र साङबु शेर्पाले आइतबार, सोमबार र बुधबार छुट्टाछुट्टै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । ठूलो रकमसहित जुवा चलिरहेको सूचना पाएर प्रहरीको टोली छापा मार्न पुग्दा केही हाई प्रोफाइल व्यापारी र व्यवसायीले बरु खालमा भएको पैसा लिन तर आफूहरूलाई पक्राउ नगर्न आग्रह गरेका थिए । प्रहरीले जुवाको खालबाट नगद रकमका अलावा बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक ताससमेत बरामद गरेको थियो । जुवा खालको पैसा गन्न समय लाग्ने भएपछि प्रहरीले वाणिज्य बैंकबाट पैसा गन्ने मेसिन ल्याएको थियो । प्रहरी स्रोतका अनुसार चेकमा समेत कारोबार भएकाले बरामद रकमभन्दा ठूलो परिमाणको जुवा भइरहेको अनुमान गरिएको छ । पक्राउ परेकामा क्यासिनो खेल्नेहरूलाई मिटर ब्याजमा ऋण दिने बले भनिने बलराम सापकोटासमेत छन् । उनी यसअघि पनि मिटर ब्याजको धन्दा चलाएको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका थिए । पक्राउ परेका अन्यमा केही ठूलो घरानाका व्यापारी र केही निर्माण व्यवसायी भएको प्रहरीले जनाएको छ । प्रहरीले जुवा खालको भिडियो र तस्बिरसहित घटनास्थलको मुचुल्का र प्रत्यक्षदर्शीको भनाइलाई समेत प्रमाणका रूपमा समेटेर मुद्दाको फाइल तयार पारेको छ ।
जुवाखालमा पार्टीका नेता लमजुङ– कौडा खेल्दै गरेको अवस्थामा प्रहरीले वडासदस्य र नेतासहित २५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका १ का वडा–सदस्य गौबहादुर गुरुङ र नेकपा बेंसीसहर नगर कमिटी अध्यक्ष राजकुमार विष्टलगायत छन् । सोमबार राति २ बजे बेंसीसहर नगरपालिका–११, चिती तिलाहर नजिकै पुरानो कुखुराको खोरबाट उनीहरूलाई पक्राउ गरिएको हो । यसैगरी विराटनगरबाट पक्राउ परेका २० जनाबाट करिब ७ लाख रुपैयाँ बरामद भएको छ । विराटनगर महानगर ३ स्थित एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले नगद र कौडासहित पक्राउ गरेको हो । यसैगरी महानगर ८ स्थित अर्को घरमा जुवा खेल्ने १० जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, पार्टीप्यालेसमा जुवा खेल्दै गरेका २८ पेसेवर जुवाडेलाई ५ लाख ८० हजार रुपैयाँसहित पूर्वी नवलपरासी प्रहरीले पक्राउ गरेको छ । देवचुली नगरपालिकाको देवचुली पार्टीप्यालेसमा जुवा खेल्दै गर्दै उनीहरू पक्राउ परेका हुन् । चितवनका विभिन्न तीन ठाउँमा जुवा र तास खेल्दै गरेका ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट ६ लाख ४ हजार २ सय ४५ रुपैयाँ बरामद भएको छ । भरतपुर महानगरपालिका–१४ स्थित पार्टीप्यालेसभित्रै कौडा खेल्दै गरेका १२ जनालाई प्रहरीले समाएको हो । त्यसैगरी खैरहनीबाट २० र नारायणगढबाट ८ जना जुवाडे पक्राउ परेका छन् । त्यसैगरी पूर्वी चितवनको खैरहनी नगरपालिका–१ सिमलघारीमा रहेको एउटा खाली घरबाट २० जना जुवाडे पक्राउ परेका छन् । भरतपुर–३ कमलनगर नारायणगढमा डेरा गरी बसेका शिवजी यादव र सुधीर महतोको डेराबाट जुवा खेल्दै गरेका ८ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
समाचार
नमुना जनगणना चैतभित्र
- कान्तिपुर संवाददाता
काठमाडौं (कास)– चैतभित्र नमुना जनगणना गरिने भएको छ । त्यसका लागि केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो, मूल नारा र नमुना जनगणनाको समयतालिका सार्वजनिक गरिसकेको छ । सबै प्रदेश, हिमाल, पहाड र तराईको जनसंख्याको समानुपातिक प्रतिनिधित्व हुने गरी नमुना जनगणना सञ्चालन गरिने विभागको भनाइ छ । नमुना जनगणनालाई प्रत्येक प्रदेशबाट २ जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा सञ्चालन गरिनेछ, जसमा प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ को मकवानपुर र काठमाडौंमा हुनेछ । गण्डकी प्रदेशको बागलुङ र कास्की, प्रदेश ५ को रूपन्देही र प्यूठान, सुदूरपश्चिम प्रदेशको कैलाली र दार्चुला तथा कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा हुनेछ । ती जिल्लाका करिब ११ हजार ६ सय १० घरपरिवारमा नमुना जनगणना हुनेछ । त्यसका निम्ति १ करोड १७ लाख बजेट विनियोजन भएको विभागको जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । ‘नमुना जनगणनामा १ सय २२ जनशक्ति खटाइनेछ,’ उनले भने, ‘सुपरिवेक्षक र गणक करारमा नियुक्त गरिनेछ । त्यसका लागि माघ १ बाट चरणबद्ध तालिम सञ्चालन गरिनेछ ।’ १५ जना सुपरिवेक्षक, ६० जना गणक र अन्य ४७ जना जनशक्ति रहने उनको भनाइ छ । विभागले नमुना जनगणनाका निम्ति तथ्यांक कार्यालयका प्रमुखहरूको तालिम र जिल्ला पाइलट जनगणना कार्यालय स्थापना गर्नेछ । ‘घरपरिवार सूचीकरणलगत्तै चैत ९ बाट गणना सुरु हुनेछ,’ निर्देशक लामिछानेले भने, ‘गणकले चैत २३ गतेभित्र काम सक्नेछन् ।’ जिल्लाले कन्ट्रोल फारम तथा लगत फारम तोकिएको स्थानमा रुजु गरेलगत्तै चैत मसान्तभित्र नमुना जनगणनाका सम्पूर्ण फारम केन्द्रमा बुझाउनेछ ।
समाचार
घर बन्यो, पुर्जा छैन
- विप्लव महर्जन
सुकुम्बासी समस्या समाधान आयोगले उपलब्ध गराएको लान्ती आसपासका जग्गामा बनाएका घर । यहाँका बासिन्दाले लालपुर्जा पाएका छैनन् ।तस्बिर ः विप्लव/कान्तिपुर
(सल्यान) - छत्रेश्वरी गाउँपालिका भोटेचौरका सन्देश नेपालीले २०३८ सालमा सुकुम्बासी समस्या समाधान आयोगबाट घर बनाउन ७ मिटर जमिन पाए । त्यसमा घर बनाएर बस्न थालेको २५ वर्ष पुग्यो । तर, अहिलेसम्म उनले लालपुर्जा (जग्गाधनी पुर्जा) पाएका छैनन् । सोही गाउँपालिकाअन्तर्गत लान्तीका भुवन बादीले २०५४ मा जग्गा पाएर घर बनाई बस्दै आए पनि लालपुर्जा अझै पाएका छैनन् । जिल्लामा यस्ता थुप्रै सुकुम्बासीले आयोगबाट जग्गा पाए पनि लालपुर्जा पाएका छैनन् । ‘हामीलाई त उतिबेलै जग्गा दिएर लालपुर्जा दिने भनिएको थियो,’ भुवनले भने, ‘तर अहिलेसम्म अत्तोपत्तो छैन ।’ आयोगले २०३८ र २०५४ मा छत्रेश्वरीको लान्ती, भोटेचौर, त्रिवेणी, शारदा नगरपालिकाको शान्तिनगर आसपास क्षेत्र, बनगाड कुपिण्डे नगरपालिकाको देवस्थल, अम्रालगायत जिल्लाका विभिन्न ठाउँमा करिब ५ सय व्यक्तिलाई जग्गा उपलब्ध गराएको थियो । उनीहरूले ५ देखि १० मिटर जमिन पाएका थिए । लान्तीकै गणेश भारतीले आयोगबाट पाएको जग्गामा ७ लाख रुपैयाँ खर्च गरी घर बनाएका छन् । लालपुर्जाका लागि पटक–पटक सुकुम्बासी समस्या समाधान आयोगको कार्यालयमा गए पनि निराश भएर फर्किनुपरेको उनले सुनाए । आयोगले ५ देखि १० मिटर जमिन उपलब्ध गराए पनि किनबेच भइरहनु र वन क्षेत्रमा अतिक्रण बढ्नुले जिल्ला मालपोत कार्यालयले लालपुर्जा नदिएको हो । लान्तीका भीमबहादुर ओलीले मालपोतले छानबिन गर्नुको साटो पुर्जा नै दिन रोक्नु गलत भएको बताए । लान्ती र भोटचौरमा हालसम्म २०–२५ जनाले लालपुर्जा पाए पनि करिब २ सयजना पुर्जाबाट वञ्चित रहेका उनले बताए । ‘लालपुर्जा नहुँदा कतिबेला उठिबास हुने हो पत्तो छैन,’ उनले भने, ‘एक त अहिल्यै पनि सडक र वनले बेलाबेला कचकच गरिरहन्छ ।’ पुर्जाका लागि सुकुम्बासीले बारम्बार सम्बन्धित निकायमा माग राख्दै आएका छन् । ३ वर्षदेखि त जिल्लास्थित सुकुम्बासी समस्या समाधान आयोगको कार्यालय नै छैन । वनगाड कुपिन्डेमा बस्दै आएका पूर्ण नेपालीले पुर्जा नहुँदा कामका लागि भारत जानुपर्ने बाध्यता सुनाए । पुर्जा पाए जग्गा धितो राखेर व्यापार गर्ने सोच भए पनि अधुरै रहेको उनले बताए । ‘बस्न घर त बनाएका छौं, तर पुर्जा नभएकाले आफ्नो जस्तै लाग्दैन,’ उनले भने, ‘सुकुम्बासी भएर कहिलेसम्म बस्नुपर्ने हो थाहा छैन ।’ आयोगको जिल्लास्थित कार्यालयले ३ वर्षअघि पुर्जा दिन फाराम भराएको थियो । तर, भरिएका ती फाराम अहिले कहाँ छन् भन्ने सुकुम्बासीलाई थाहा छैन । मालपोत कार्यालयका खरिदार हुर्मतबहादुर हमालले आयोगले संकलन गरेका फारामहरू मालपोत कार्यालयमा ल्याएर थन्क्याइएको बताए ।
सम्पादकीय
विद्युत्मा फेरिएको चुनौती
तीन वर्षअघिसम्म तिहार अन्धकारमै हुन्थ्यो । २०७३ सालमा नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिनदेखि काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त घोषणा गर्यो । गत वैशाखदेखि त सबै क्षेत्रमा लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । विद्युत् अभावमा अन्धकारमा बस्नुपर्ने वा बत्ती कति खेर आउला भनेर कुरिरहनुपर्ने नेपालीको दैनिकी फेरिएको छ, हरपल ढुक्कसँग बिजुली उपभोग गर्न पाएका छन् । चाडबाडलाई झिलिमिली बनाएका छन् । नेपाल विद्युत्मा आत्मनिर्भर बन्ने बाटोमा हिँडेको छ । विद्युत्को माग र व्यवस्थापनका लागि तिहार चुनौतीपूर्ण मानिन्थ्यो । तर, प्राधिकरणले यो वर्षको तिहारमा भारतबाट नगण्य विद्युत् आयात गरी माग धानेको छ । लक्ष्मीपूजाको दिन देशभर विद्युत्को उच्चतम माग एक हजार ८९ मेगावाट पुग्यो, जुन प्राधिकरणले अनुमान गरेको भन्दा कम हो । प्राधिकरणले यसवर्ष लक्ष्मीपूजाको दिन १ हजार १ सय ९० मेगावाटसम्म पुग्ने अनुमान गरेको थियो । सोचेभन्दा कम विद्युत् माग भएपछि उच्चतम विद्युत् माग हुने दिन पनि भारतबाट निकै कम विद्युत् आयात गर्नुपर्यो । लक्ष्मीपूजाको दिन साँझ साढे ६ बजे भारतबाट जम्मा १ सय ७ दशमलव ३ मेगावाट आयात गर्नुपरेको थियो । यो भनेको कुल मागको करिब १० प्रतिशत मात्रै हो । प्राधिकरणको अनुमान अनुसार आगामी वर्षदेखि तिहारको समयमा भारतबाट विद्युत् आयात गर्नु पर्दैन । पुसदेखि चैतसम्मको अवधिबाहेक अन्य बेला भारतबाट विद्युत् ल्याउनु पर्दैन, आन्तरिक उत्पादन नै बढी हुन्छ । हाल निर्माणाधीन विद्युत् आयोजनाको सूची र त्यसको निर्माण सम्पन्न हुने लक्ष्य हेर्दा यो वर्ष मात्रै राष्ट्रिय प्रणालीमा करिब १ हजार मेगावाट विद्युत् थपिनेछ । यो भनेको करिब एक सय वर्षको अवधिमा नेपालले उत्पादन गरेको कुल विद्युत् परिमाण बराबर एकै वर्षमा थपिनु हो । यस हिसाबले हेर्दा विद्युत् क्षेत्रका लागि यो वर्ष निकै उत्साहजनक छ । सरकारले गत वर्ष बजेटमार्फत १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने महत्त्वाकांक्षी योजना अघि सारेर सोही अनुसार नीतिगत प्रक्रिया अघि बढाएको छ । उत्पादित विद्युत् कहाँ र कसरी बिक्री गर्ने वा आन्तरिक खपत बढाउनेतर्फ भने कम प्राथमिकता परेको देखिन्छ । नेपालमा प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक २ सय ४५ किलोवाट छ, जुन एसियाली मुलुकको तुलनामा पनि निकै कम हो । जल तथा ऊर्जा आयोगको एक अध्ययनअनुसार पनि नेपालमा ऊर्जा खपत सोचेअनुसार बढ्न सकेको छैन । आयोगले केही वर्षअघि वार्षिक आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहने सामान्य अवस्थामा पनि सन् २०१५ मा विद्युत् माग १ हजार ७ सय २१ मेगावाट र २०२० मा २ हजार २ सय ८४ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो । तर, केही वर्षयता देशको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि रहँदा पनि वार्षिक विद्युत्को उच्चतम माग १२ सय मेगावाट हाराहारीमा मात्रै छ ।
बत्ती बाल्नका लागि मात्रै विद्युत्को प्रयोग हुनु, विद्युत्को गुणस्तरीयता र मूल्यमा प्रश्न उठाउँदै औद्योगिक क्षेत्र बिजुलीको बढी प्रयोगमा अनिच्छुक रहनु, सबै क्षेत्रमा विद्युतीकरण नहुनुजस्ता कारणले विद्युत्को माग बढ्न नसकेको अनुमान गर्न सकिन्छ । त्यसैले केही वर्षअघिसम्म विद्युत् अभावले पिरोलिने प्राधिकरणलाई अब अर्को चुनौती छ— देशभित्र उत्पादित विद्युत् कसरी खपत गर्ने ? यसका लागि ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले क्षेत्रीय बजार खोज्ने काम सुरु गरिसकेका छन्, यस कामलाई थप तीव्रता दिन जरुरी छ । नेपालमा उत्पादित विद्युत् भारत र बंगलादेशमा बिक्री गर्ने नेपाली योजना अहिले प्रारम्भिक चरणमा छ । यसलाई तीव्रता नदिए आगामी दिनमा उत्पादित विद्युत् खेर जाने अवस्था आउन सक्छ । स्वदेशमा उत्पादित विद्युत् केही घण्टा पनि खेर जाने अवस्था आउनु बिक्री गरेर आम्दानी गर्ने अवसर त गुमाउनु हो नै लगानीकर्ताले चर्को व्याजमा ऋण लिएर आयोजनामा गरेको लगानीलाई सरकारले उपेक्षा गर्नु पनि हो । उत्पादित विद्युत् खेर जान्छ भन्ने अनुमानका आधारमा मात्रै नभई नेपालको तुलनात्मक लाभको यस क्षेत्रबाट बढीभन्दा बढी फाइदा लिन पनि सरकारले विद्युत्को खपत र प्रयोगलाई बढाउन जरुरी छ । विद्युत्को क्षेत्रीय बजार खोज्दै गर्दा सरकारले आन्तरिक रूपमा पनि खपत बढाउनेतर्फ कदम चाल्नुपर्छ । त्यसका लागि डिजेल/पेट्रोल र ग्यास आयातलाई प्रतिस्थापन गर्दै विद्युतीय सवारी र विद्युतीय चुल्हो प्रयोगका लागि प्रोत्साहित गर्नु सरकारको दायित्व हो । जसले गर्दा बर्सेनि २४ अर्बभन्दा बढीको पेट्रोलियम आयातलाई कम गराउन र बढ्दो व्यापार घाटाको घाउमा मल्हम लगाउन सकिन्छ ।
दृष्टिकोण
प्रतिपक्षी कांग्रेसको तनाव
- किशोर नेपाल
देशको सबभन्दा ठूलो लोकतान्त्रिक पार्टी यति बेला राजनीतिक हिसाबले अस्तव्यस्त मात्र छैन, तनावग्रस्त पनि छ । सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति विमति जनाउँदै प्रतिस्पर्धी रामचन्द्र पौडेल र उनका सहयोगीहरूले सभापतिको निरन्तर विरोध गर्दै आएका छन् । उनीहरूको आरोप छ, सभापति देउवामा नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टी सञ्चालनका लागि ‘भिजन’ भएन । उनले पार्टी एकता मजबुत तुल्याउन सकेनन् । पार्टीभित्र निरन्तर उठिरहेका असहमतिका स्वरहरूलाई सभापतिले न सम्बोधन गर्नसके, न आवश्यक सम्मान । सभापतिका रूपमा उनले भ्रातृ संगठनका लागि आवश्यक संगठनात्मक संरचनासम्म दिन सकेनन् । विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ लगायतका वर्गीय संगठनहरूको अवस्था दयनीय रह्यो । एउटै भ्रातृ संगठनका दुई समानान्तर कार्यक्रम हुन थाले । सभापति देउवाले पार्टीभित्रका अराजक गतिविधि रोक्न सकेनन् । उनी ‘असक्षम’ सभापति हुन् । यो सत्य हो, देशमा कम्युनिस्ट शासनको राप र ताप बढ्दै गएका बेला नेपाली कांग्रेस पार्टीले प्रतिपक्षको भूमिका सक्रिय रूपले निर्वाह गर्न सकेको छैन । देशका विभिन्न प्रदेश र स्थानीय तहमा कहाँ के भइरहेको छ ? सरकार र सरकार सञ्चालन गर्ने पार्टीले कस्ता गतिविधि गरिरहेका छन् ? त्यसमा सामान्य जनताको प्रतिक्रिया के छ ? यी सबै जानकारी एकीकृत हिसाबले आउने व्यवस्था कांग्रेसमा देखिँदैन । पार्टीका नेताहरूले मूलधारका सञ्चार माध्यमले भन्दा पनि सामाजिक सञ्जालले छरेका अप्रशोधित सूचनाका आधारमा राजनीतिक प्रतिक्रिया दिने गरेको पाइन्छ । पार्टीका प्रवक्ताको हातमा जहाँबाट जे सूचना आइपर्छ, त्यसको प्रतिक्रिया दिनेसम्मको बाध्यता छ । पार्टीबारे जनताको अभिरुचि बढ्दै गएको अवस्थामा पनि कांग्रेस पार्टीको सूचना संयन्त्र ध्वस्त छ भन्न हिचकिचाउनु पर्दैन । पार्टीले आफ्नो मुखपत्रसमेत चलाउन सकेको छैन । यसलाई विडम्बना नै मान्नुपर्ला, सभापति देउवाविरुद्ध उनका प्रतिपक्षीको आरोपमा नयाँ कुरा केही छैन । ‘भिजन’ का हिसाबले, जसरी सभापति देउवामा कुनै भिजन छैन, त्यसरी नै प्रतिस्पर्धी नेता रामचन्द्र पौडेलमा पनि कुनै भिजन छैन । अहिले देउवासँग एउटा गुट छ, जसको परिधि पौडेल गुटको भन्दा फराकिलो देखिन्छ । किनभने देउवा सभापति छन् । उनका गुटमाथिका उपगुट पनि धेरै छन् । सरकारको प्रमुख प्रतिपक्षका नेता र नेपाली कांग्रेसका सभापतिका रूपमा पार्टीका विभिन्न स्रोतमाथि उनको स्वाभाविक नियन्त्रण छ । देउवाकी पत्नी श्रीमती आरजु देउवा राजनीतिमा सक्रिय छिन् । सभापति देउवाको ‘गृहपृष्ठ’ को सञ्चालन उनैले गर्दै आएकी छन् । उमेरले ७५ वर्ष कट्नै लागेका देउवालाई भरोसालाग्दो सहयोगीको जरुरत हुन्छ नै । त्यस्तो भरोसालाग्दो सहयोगी आफ्नी धर्मपत्नीभन्दा अर्को कोही हुने कुरा भएन । श्रीमान् देउवाको राजनीतिलाई आफ्नो हकमा सुदृढ गराउन खोज्नु श्रीमती देउवाका लागि पनि अस्वाभाविक नहोला । देउवा र पौडेल गुटमा बाँडिएका कांग्रेसका थुप्रै प्रभावशाली नेताका आ–आफ्नै गुट छन् । अहिले कुनै पनि नेता चलायमान देखिएका छैनन् । स्वयं देउवा गुटका नेताहरूलाई सभापतिको पहिलो कमजोरी बुढ्यौली हो भन्ने थाहा नभएको होइन, तर बुढ्यौलीको कुरा उठाउनु मानवीय नहुने तर्कका आडमा उनका अन्य कमजोरीमा समेत पर्दा हालिएको छ । यही तर्कको आडमा अर्का वयोवृद्ध नेता पौडेलका बारेमा पनि उनका समर्थकहरू कुनै टिप्पणी गर्न चाहँदैनन् । बडो अनौठो अवस्था छ कांग्रेसको । अहिलेका जति पनि झगडा छन्, त्यसको मूलमा देउवाको उच्चताबोध र पौडेलको लघुताबोधले जन्माएको क्षोभ रहेको छ । कुनै बेला कांग्रेसमा ‘राशश’ अर्थात् रामचन्द्र, शैलजा र शेरबहादुर त्रिमूर्तिका रूपमा देखिन्थे । ती तीन मूर्तिमध्ये शैलजाको अत्यन्त दुःखद निधन भयो । शेरबहादुर चार पटक देशको प्रधानमन्त्री हुँदा रामचन्द्र एक पटक पनि भएनन् । उनी आफ्नो पराजयलाई मूल विषय बनाएर पार्टीका समस्याहरूबाट छड्किन चाहन्छन् । एक पटक पार्टीसत्ता र सरकारको ताजपोशी गर्ने चाहना छ उनको । तर त्यो समय भिड्किइसकेको छ । कांग्रेसभित्र देशव्यापी रूपमा विस्तार भएको आत्मघाती गुटबन्दी २०४६ सालको राष्ट्रिय जनआन्दोलनपछि त्यति बेला जन्मिएको हो, जब राजनीतिक हिसाबले दिगो र मजबुत पार्टीमा अचानक विग्रह आयो । अहिले जसले जतिसुकै ढाकछोप गरे पनि, गिरिजाप्रसाद कोइरालाले सर्वमान्य नेता गणेशमान सिंह र सभापति कृष्णप्रसाद भट्टराईसँग ‘सरकार सञ्चालन’ को विधि र प्रक्रिया तथा पार्टी र सरकारबीचको सम्बन्धमा सिंह र भट्टराईसँग ‘असहमति’ जनाएपछि कांग्रेसभित्र गुटका थुप्रै मुना पलाउन थालेका हुन् । एक समय यस्तो पनि आयो, जब तत्कालीन अर्थमन्त्री महेश आचार्यको चेम्बरबाट ‘राजा वीरेन्द्रलाई अपदस्थ गरी गणेशमान सिंह गणतन्त्र नेपालका राष्ट्रपति बन्ने तयारी भएको’ धूवाँ बाहिर सहरभरि फैलाइयो । यो धूवाँबाट प्रभावित तत्कालीन श्री ५ को सरकारका कतिपय उच्च ओहदाधारीहरू जिज्ञासाको अतृप्तिले छटपटाएका थिए । हिजो के भएको थियो ? आजको राजनीतिमा त्यसको सन्दर्भ नरहेको सोच्ने धेरै होलान् । तर भविष्यको धार इतिहासले नै कोरेको हुन्छ । २०५८ सालसम्म प्रधानमन्त्रीका रूपमा पूरै कांग्रेस संगठनलाई आफनो कमान्डमा राखेर शासन गर्ने गिरिजाप्रसाद कोइराला ‘आमूल परिवर्तन’ को बाटोमा ‘हठात्’ लागेका थिएनन् । परिवर्तनको यो बाटोमा लाग्दा उनको मनमा राजा ज्ञानेन्द्रबाट भएको आफ्नो निरन्तरको अपमानको चोट मात्रै थिएन, कांग्रेस संगठनको कमजोर अवस्था र कांग्रेस कार्यकर्ताको मनोदशाको पीडासमेत थियो । पहिलो संविधानसभाको चुनावमा कांग्रेसको हार अकल्पनीय थियो । देशमा शान्ति प्रक्रियाको प्रारम्भ गर्ने र गणतन्त्र स्थापना गर्ने पार्टीको चुनावमा पराजय कार्यकर्ताका लागि अनौठो थियो । स्वास्थ्यका कारणले कोइराला चुनाव प्रचारमा गएनन् । यो हारसँगै कोइरालाका राजनीतिक परिकल्पना ओझेलमा परे । देशमा जनआन्दोलन भएको थियो । तर सजिलै गणतन्त्र आउनमा माओवादी ‘जनयुद्ध’ को भूमिका सशक्त थियो । मूलधारका भनिने राजनीतिक दलहरूको चेतनामा समेत गणतन्त्र घुस्न सकेको थिएन । आज पनि मूलधारका नेता गणतन्त्र र संघीयताका बारेमा भ्रमित छन् । पौडेल समूह जतिसुकै हतारिए पनि देउवाले स्वैच्छिक अवकाश लिँदैनन् । वर्तमान कांग्रेस कार्यसमितिको म्याद २०७६ फागुनमा समाप्त हुन्छ । विधान अनुसार, त्यसपछि एक वर्षको अवधि देउवा कार्यसमितिले नै थप गर्न सक्छ । त्यतिले नपुगे ६ महिना म्याद थप्ने प्रावधान पनि छ । यो हिसाबले अहिले नै महाधिवेशनको मुद्दा उठाउनु र त्यसका लागि देउवाका विरोधीहरू बटारिनुको खासै अर्थ देखिँदैन । देउवाको विरोधमा अहिले जो–जो लागेका छन्, ती कसैसँग पनि पौडेललाई सभापति वा प्रधानमन्त्री बनाउने क्षमता छैन । पौडेलको विरोधमा रहेका देउवापक्षीय नेताहरूको क्षमता पनि यही हो । देउवासँग आफ्ना समर्थकहरूको चित्त बुझाउन सक्ने तागत छ । तर पौडेलसँग त्यो छैन । नेपाली कांग्रेसको सबभन्दा उच्चाटलाग्दो प्रचलन पार्टी सदस्यहरूका बीचमा कहिल्यै कुनै पनि विषयमा गम्भीर छलफल नहुनु हो । अहिले देशमा ठूला घटना भएका छन् । चीनको बीआरआई र अमेरिकाको इन्डो–प्यासिफिकका बारेमा पार्टी सचेत र सजग रहनुपर्ने हो । त्यस्तो चासो कांग्रेसका नेताहरूले अहिलेसम्म देखाएका छैनन् । देशमा भ्रष्टाचारको बिगबिगी छ, पार्टीका नेताहरूलाई कुनै मतलव छैन । दुईतिहाइको सरकारको लगाम कस्नेभन्दा हेरेर बस्ने परिपाटी खतरनाक छ । सन्तनेता कृष्णप्रसाद भट्टराईको उत्तराधिकारीका रूपमा गिरिजाप्रसाद कोइराला पार्टीको अविच्छिन्न सभापति बने । उनले कहिल्यै कुनै पनि महत्त्वपूर्ण विषयमाथि पार्टीमा छलफल गराएनन् । यसो भनौं, छलफलको त्यो संस्कार सुरु नै भएन । खुमबहादुर खड्काले ‘सभापति गिरिजा कोइरालाले पार्टीको कार्यसमितिमा प्रस्ताव नै नराखी देशलाई धर्मनिरपेक्ष बनाएको’ बताएका हुन् । खड्काले पनि यो कुरा कोइराला जीवित रहेका बेला उच्चारण गरेनन् । अहिले खड्का र कोइराला दुवै जीवित छैनन् । तर कांग्रेसभित्र खड्काले लगाएको हिन्दु राष्ट्रको नारा बोकेर हिंँड्ने निकै छन् । यो सत्य हो, राजनीतिमा कांग्रेसको हस्तक्षेपकारी भूमिका खोज्ने प्रबुद्ध वर्ग र सर्वसाधारण नेपाली जनता, कांग्रेसका सामान्य तर निष्ठावान् कार्यकर्ता तथा राजनीतिमा कांग्रेसको उपस्थिति खोज्ने राजनीतिक शक्तिहरू कांग्रेस कमजोर भएकामा चिन्तित छन् । उनीहरूलाई देउवा वा पौडेलमा को प्रभावशाली हुन्छन् भन्ने चिन्ता छैन । उनीहरूको मुख्य चिन्ता भनेको राजनीतिमा कांग्रेसको शक्तिशाली पुनरागमन हो । किनभने देशमा कांग्रेस मात्र एउटा यस्तो स्थापित राजनीतिक शक्ति हो, जसले एकाधिकारवादी चिन्तनलाई चुनौती दिन सक्छ । कांग्रेस अहिले त्यो अवस्थामा छैन । गएको चुनावयता कांग्रेसको हालत ‘सातो’ गएको सानो बच्चाको जस्तो भएको छ । यो प्रतिदिन शक्तिहीन हुँदै गएको छ । सुशील कोइरालाको सभापति कालदेखि नै यसले नीतिगत गल्ती गर्दै आएको छ । मधेसी र जनजातिको आस्थामाथि कांग्रेसले पटक–पटक अन्तर्घात गरेको छ । यही कारण हो, विगत चुनावमा यसको आधार नराम्रोसँग हल्लिएको थियो । देउवा होऊन् वा पौडेल, हाल नेतृत्वको वृत्तमा रहेका कुनै पनि नेतामा नेपाली कांग्रेसको नेतृत्व गर्ने क्षमता देखिँदैन । वर्तमान नेतृत्वका प्रखर आलोचक शेखर कोइरालादेखि शेरबहादुर देउवासम्म सबैको उमेर ७० वर्ष कटिसकेको छ । यो अवस्थामा रहेका नेतागणबाट कांग्रेसले जीवन्त नेतृत्वको आशा गर्नु मृगमरीचिका मात्र हुनेछ । हो, पहिलो लहरका नेताहरूको विकल्पमा कांग्रेसमा आशा र भरोसा गर्न सकिने नेताहरूको कमी भएको होइन । उनीहरू सहर–बजार र समाचार माध्यममा परिचित भए पनि जनताका माझ जनताका मानिस भएर स्थापित हुन बाँकी नै छ । कांग्रेस राजनीतिमा दुइटा धार स्पष्ट देखिएको छ । एउटा धारको प्रतिनिधित्व गिरिजाप्रसाद कोइरालाले गरेका छन् । यो धारले राजनीतिलाई उपयोगिताका आधारमा हेर्छ । तर यसका जरा बलिया छैनन् भन्ने पछिल्लो समयमा देखिएको छ । नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइरालाको योगदानलाई कसैले इन्कार गर्न सक्दैन । नेपालबाट २४० वर्ष लामो राजतन्त्र उखेलेर त्यसको ठाउँमा गणतन्त्रको स्थापना गर्नु चानचुने कुरा थिएन । तर उनको प्रधानमन्त्री कालमा भएका अनेकौं चलखेलले गर्दा उनको व्यक्तित्व सर्वस्वीकार्य हुन सकेको छैन । सामान्य मानिसको मनमा बीपी कोइरालाको छवि अहिले पनि चम्किलो र उजागर रहेको छ । बीपीको अठारमहिने शासनमा त्यस्तो चामत्कारिक कुरा केही हुन पाएनन् । तर त्यो शासनकालमा ‘ठोस नेपाली भिजन’ तयार भयो । बीपीले नेपालको आधुनिकीकरणको सूत्रपात गरे । जनताको स्वतन्त्रताका लागि आजीवन संघर्ष गरे । २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्किएका बीपीलाई जनताले नजिकबाट चिने । अहिले नेपाली कांग्रेस भन्नेबित्तिकै बीपीको नाम पर्यायवाची हिसाबले आउने गर्छ । यति बेला जनताले कांग्रेस नेताका रूपमा त्यस्तो व्यक्तिको खोजी गरेका छन्, जसले बीपीबाट सुरु भएको ‘राजनीतिक धर्म’ को पालना गर्न सकोस् । कांग्रेसमा अहिले जो देखा परेका छन्, तिनले कुन हदसम्म बीपीका मान्यताहरूलाई अघि बढाउन सक्छन् ? यसै भन्न सकिने अवस्था छैन । २०५६ सालको निर्वाचनमा कांग्रेसको अवस्था अहिलेको जस्तै कमजोर थियो । परिस्थितिको तकाजाले सभापति गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई कांग्रेसका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाए । भट्टराईको विजय अपेक्षित थियो । त्यो महामारीबाट कांग्रेस उम्कियो । अहिलेको अवस्थामा कांग्रेस सभापति देउवाले यस्तै दूरदर्शी कदम चाल्न सके भने कांग्रेस अहिलेको हाहाकारबाट उठ्न सक्ने सम्भावना छ । राजनीतिमा अबको प्रयोगका पात्र बीपीका कान्छा छोरा तथा कुनै समयका प्रसिद्ध आँखा चिकित्सक डा. शशांक कोइराला हुन सक्छन् । अपेक्षाकृत कम उमेरका शशांक कोइराला तीन पटक संसद सदस्य भइसकेका छन् । उनी अघिल्लो पटक नै देउवालाई चुनौती दिन तम्तयार थिए । त्यो बेला ‘राजनीतिक सहमति’ मा शशांक पछि हटेका थिए । यो तथ्य हो, आजको समयमा विरासतको राजनीति खतरनाक प्रावधान हो । तर दक्षिण एसियामा विरासतको आकर्षण पनि घटेको छैन । शशांक आफ्ना पिताप्रति इमानदार र संवेदनशील देखिन्छन् । उनले बीपीका आदर्शहरूको ‘फँडानी’ गर्नेछैनन् भन्ने आशा राख्ने धेरै छन् । उनी सभापति पदका लागि योग्य छन् कि छैनन् ? त्यसको जाँच उनी आफैले दिनुपर्नेछ । अहिलेका लागि यी कुरा प्रस्ताव मात्रै हुन् । राजनीति कुलो होइन, नदी हो । नदीले आफ्नो बाटो आफै बनाउँछ ।
सम्पादकलाई चिठी
संघीयता कार्यान्वयन उल्टो
कात्तिक १० गते प्रकाशित कृष्ण खनालको ‘कता गइरहेको छ, संघीय अभ्यास ?’ मा संघीयता खारेज गरे पनि हुन्छ भन्नेसम्मको तर्क गरिएको छ । पहिले उनी संघीयताप्रति जति उत्साही थिए, अब त्यति छैनन् । संघीयता मधेस आन्दोलनको उपज हो । त्यसैले सत्ताधारी नेतृत्व वर्गले संघीयताको लागि रुचि देखाएका छैनन् र उचित गृहकार्य पनि गरेनन् । २०४६ सालको आन्दोलनपछि अञ्चलाधीश कार्यालय हट्यो । त्यसको औचित्य दरबारको प्रतिनिधित्व बाहेक अरु केही थिएन । त्यस्तै ६२/६३ को आदोलनपछि जिल्ला कार्यालय हट्नुपर्थ्यो । जिल्ला, प्रदेश मातहतको अंश हो । तर त्यसलाई संघको प्रतिधिधि बनाएर राखिएको छ । जिल्लाहरू हट्नुपर्थ्यो । र प्रदेशलाई नै नयाँ जिल्ला तोक्ने अधिकार दिनुपर्थ्यो । त्यसले के हुन्थ्यो भने महेन्द्रले बनाएका जिल्ला खारेज हुन्थे । तर अहिले संघ सञ्चालकहरूलाई महेन्द्रले बनाएका जिल्लामात्र होइनन्, स्वयं महेन्द्र पनि प्रिय छन् । उनको शासन शैलीलाई अहिलेका नेतृत्व पनि त्याग्न चाहँदैनन् । अहिले पनि २०४६ पछिका जिल्लाले झैं नै सबै काम गरिरहेका छन् । भन्नका लागि स्थानीय र प्रदेश सरकार छ, तर केही छिटपुट महत्त्वहीन काम बाहेक उसलाई केही अधिकार दिइएको छैन । प्रदेशको काम पहिलेको जिल्ला विकास जति पनि छैन । जुन नेतृत्वका लागि गणतन्त्रसमेत बयलगाडा हो भने संघीयता त केटाकेटीको खेलौनामात्र होला । – डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज
सम्पादकलाई चिठी
संस्कृतिमा विकृति
धर्मबाट सिर्जित सांस्कृतिक चाडहरू राम्रा, रमाइला र खुसियाली मनाउन हुन्छन् । हिन्दुको देउसीभैली पनि यसैमा पर्छन् । देउसीभैली खेल्नेले यतिउति दक्षिणा रकम राख्नैपर्छ भनेर भट्याउने गर्छन् । दर्जनौंको समूहमा आउने देउसीभैलीलाई दक्षिणा दिन सय होइन, हजारौं रकम आवश्यक हुन्छ । तिहार चाडसँग जोडेर तास, जुवा र लङ्गुरबुर्जा जस्ता धननाश, समयनाश र घरबास उठीबास गराउने नराम्रो खेलको संस्कृति कदापि रमाइलो र सुसंस्कार हुन सक्दैन । अर्कोतर्फ देउसीभैली हिन्दुहरूले गैरहिन्दुहरूको घरमा गएर खेल्नु पनि ठिकै होला । तर त्यो घर धनाढ्यको हो, त्यो घरबाट यतिउति रकम देउसीभैलीबाट उठाउने भन्ने पूर्वसोच बनाएर खेल्दा सांस्कृतिक पक्षसँग भन्दा पनि आर्थिक पक्षसँग स्वार्थ गाँसिन्छ । यो राम्रो होइन । गैरहिन्दुले पैसाकै लागि देउसीभैली खेल्नु पनि राम्रो होइन । यसतर्फ सोचौं । तिहारसँग जोडेर ससाना बालबालिकाहरू पनि देउसीभैली खेल्दै पैसा माग्न समूह बनाउँछन् । शिवरात्रिमा डोरी टाँगेर बाटो, सडक छेक्छन् । हतारमा हिंँडिरहेका यात्रुले गाली गर्छन् । धर्मगुरु, संस्कृतिविद र शैक्षिक संस्थाहरूले यसबारे समाजमा बहस चलाउनुपर्ने पो हो कि ? नेपालीबीच धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र जातीय भातृत्व कायम राख्दै विशिष्ट पहिचानलाई पनि संरक्षण र स्थायित्व गर्न तथा फजुुल खर्च हुन नदिन समाजका अगुवाहरू र बौद्धिक वर्गले बेलैमा ध्यान दिन जरुरी छ । असल संस्कृति जोगाउने र खराब भए त्याग्नेतिर लाग्नुपर्छ । – फुर्पा तामाङ, ठूलोभार्खु, रसुवा
सम्पादकलाई चिठी
नीति र प्रवृत्ति बदलौं
यस पटक दसैंको मुखैमा भारतले प्याजको निर्यात बन्द गरिदिँंदा त्यसको आपूर्ति कम भई एकाएक मूल्यवृद्धि भएको थियो । यो अवस्था अझै जारी छ । यसले गर्दा देशैभरि उब्जने प्याज आगामी वर्ष यतै खेती गरेर पर्याप्त फलाउने चर्चा दसैंअघि नै सरकारी स्तरमा एक–दुई दिन चल्यो पनि । बेलाबखत यस्ता सरकारी गफहरू हुने गर्छन् । तिहारका लागि चाहिने सामग्रीको आयातमा भने कुनै कठिनाइ नभएपछि बजारमा जति पनि पाइयो । शुभकामना आदान–प्रदान गरियो र टन्न किनियो– भाइमसला, रंगोली, फलफूल इत्यादि । यस्तो भएपछि आगामी वर्ष तिहारका लागि आवश्यक पर्ने कुनै पनि सामग्री यतै उब्जाउनेबारे कुनै चर्चा र चिन्तै गर्नु परेन । यसै सन्दर्भमा पटाका, रंगोली, बियर, तेल इत्यादिलाई छाडेर तिहारका लागिमात्रै पाँच अर्बको सामान आयात गरिएको समाचार कात्तिक ११ गते कान्तिपुरमा पढियो । आयात गरिएका नरिवल, काजु, बदाम, ओखर, पास्ता, सुपारी, केरा, खजुर, सुन्तला, अमिलो फलफूल, किसमिस, स्याउ हेर्दा तीमध्ये अधिकांश वस्तु नेपालमै उत्पादन हुने देखिन्छन् । चाड मनाउने भनेको संस्कृति जोगाउने हो ।संस्कृति जोगाउने कामलाई तडक–भडकसँग जोड्न नहुने हो । आफूसँग जे छ, त्यसैले काम चलाउँदा हाम्रो इज्जत पनि जाँदैन, हाम्रा देवीदेवता बेखुसी पनि हुँदैनन् र हामीलाई पाप पनि लाग्दैन भने किन महँंगो मूल्यमा कहाँ–कहाँदेखि झिकाएर चाड मनाउनुपर्यो ? सके त यी सामान पुग्नेगरी आफैले उत्पादन गर्नुपर्यो । त्यसो गर्न नसकेर थोरै उत्पादन हुने भए, जति हुन्छ, त्यसैले काम चलाउँदा भैहाल्छ । अल्छे तिघ्रो, स्वादे जिब्रो गरेर कहाँ पाइन्छ ? काजु, पास्ता, खजुर, किसमिस हाम्रो देशमा हुँदैन भने ती नहुने बित्तिकै तिहारै मनाउन मिल्दैन त ? खानेकुराको सन्दर्भमा हिताहार (हित गर्ने कुरामात्र खाने), मिताहार (थोरै खाने) र ऋताहार (समय अनुसार खाने) मा ध्यान दिने भनिन्छ । यस्तो स्मरणीय कुरा बिर्सेर जे पनि खाने, धेरै खाने र बेमौसममा पनि खान खोज्ने प्रवृत्तिले हामीलाई अस्वस्थ र कंगाल बनाउनु सिवाय केही गर्दैन । यसरी हामी चाडैपिच्छे फजुल खर्ची हुन आनन्द मान्ने र सरकार हामीलाई खुसी पार्न सामान आयात गर्नमा नै गौरव ठान्ने प्रवृत्तिले हामीलाई सधैं किनिखाने र परनिर्भर बनाउँछ । – इन्द्रकुमार श्रेष्ठ, सिर्जनानगर, भक्तपुर
दृष्टिकोण
प्रहरी कसको साथी ?
- श्रेय पौडेल
लगभग पन्ध्र वर्षअगाडि म ललितपुरको एउटा विद्यालयमा पढ्दा मिल्ने साथीका बुबा प्रहरीको उच्च ओहदामा थिए । साथीको संगतका कारण पुलिस अंकलसँग पनि मेरो आक्कलझुक्कल भेट हुन्थ्यो । यता हाम्रो परिवार भने वामपन्थी रुझानको थियो । यसै विरोधाभासबीच राजा ज्ञानेन्द्रले लगाएको संकटकालताका मैले एक चोटि अंकलसँग राजाको विरोधमा केही भन्ने धृष्टता गरेछु । उनले मलाई साफ झपारे । २०६२–६३ सालको दोस्रो जनआन्दोलनताका ती अंकलले तराईको कुनै एउटा जिल्लाको उच्चतम प्रहरी अधिकृतको जिम्मेवारी लिंँदा, केही आन्दोलनकारी मारिएको घटना बाहिर आयो । दोस्रो जनआन्दोलनपछि ती पुलिस अंकलको सरुवा काठमाडौं उपत्यकाभित्रै भयो । साथीसँगै उनको कार्यालयमा एक दिन जाने मौका पर्दा मैले उनको कोठाको भित्तामा ठूलो फ्रेमभित्र ‘दोस्रो जनआन्दोलनका सहिदहरू’ शीर्षकमा केही फोटा देखेंँ । मेरो कलिलो मस्तिष्कमा प्रहरीको त्यस ‘बहुआयामिक’ चरित्रले गाढा छाप छाड्यो ।
प्रहरीका ॅचर्चित’ केस पन्ध्र वर्षपछि प्रहरीको अझै डरलाग्दो चित्र छापामा छ्यापछ्याप्ती देखिन्छ । निर्मला पन्त हत्याकाण्डमा प्रहरीले घटनाको प्रमुख प्रमाण, निर्मलाको शरीर र कपडा पखाल्दै गरेको दृश्य युट्युबमा आयो । प्रहरीप्रति मानिसको विश्वास पनि त्यही पानीमा पखालियो । त्यो घटनामा प्रहरी चुकेको तथ्य प्रधानमन्त्रीसम्मले स्विकार्नुपर्यो । प्रहरीका यस्ता कारनामाको लम्बेतान सूची नै बनिसकेको छ । ३३ किलो सुन अवैध रूपमा नेपाल भित्रिँंदा त्रिभुवन विमानस्थलका सानादेखि ठूला, सबै दर्जाका प्रहरी त्यसमा संलग्न रहेछन् । आखिर ‘कहानी खत्तम पैसा हजम’ भयो त्यहाँ पनि ! सुन अझै गायब छ, ढिलोचाँडो ती प्रहरीहरू छुट्ने सम्भावना पनि उत्तिकै छ । त्यस्तै, महरा काण्डको सुरुआतमा प्रहरीले तदारुकता नदेखाएकै हो । थेग्नै नसकिने सामाजिक दबाबपछि मात्र उसले महरालाई समातेर महँगो निजी अस्पतालमा ऐस–आरामसाथ राखेको छ । आलम जस्ता क्रूर अपराध गर्नेहरूलाई पनि प्रहरीले यत्रो वर्ष पुलपुल्याएरै राखेको रहेछ । अर्कातिर, केही महिनायताका प्रहरी क्रियाशीलताका नमुना हेरौं । युट्युबमा कमेडी भिडियो बनाउने प्रनेश गौतमलाई धनाढ्य चलचित्रकर्मी मिलन चाम्सको निर्देशनमा प्रहरीले खोरभित्र जाक्यो । उनको ‘अपराध’ थियो— चाम्सको कुनै बेकामे चलचित्रको ‘एब्सर्ड’ समीक्षा गर्नु । भर्खर पनि गायकद्वय दुर्गेश थापा र भिटेनलाई समातेर प्रहरीले ‘बहादुरी’ प्रस्तुत गर्यो । उनीहरूको अपराध ? दुर्गेशले आफ्नो गीतमा बियरको प्रोत्साहन गरे रे अनि भिटेनका गीतहरू अश्लील भए रे ! यी घटनामा वाक् स्वतन्त्रतालाई प्रहरीले निमोठ्न खोजेको कुरा त आउँछ नै, त्यससँगै प्रहरी कस्तो वर्ग र विचारबाट निर्देशित छ भन्ने पनि प्रस्टिन्छ । प्रनेश गौतमको केसमा मिलन चाम्सको दबदबा छरपस्ट देखियो । दुर्गेश र भिटेन कसैको हाकाहाकी निर्देशन वा षड्यन्त्रमा नपरेका भए पनि प्रहरीको पुरातनवादी वैचारिकीले त्यहाँ काम गर्यो । पञ्चायत कालमा कपाल पाल्ने र मुन्द्रा लगाउने युवाहरूलाई कुतर्कका आधारमा समातेभन्दा कम छैन दुर्गेश र भिटेनको गिरफ्तारी ।
प्रहरीको चरित्र त्यसो भए, ‘सत्य सेवा सुरक्षणम्’ को नारा बोकेको प्रहरीको यस चरित्रलाई समग्रतामा कसरी बुझ्न मिल्ला ? नाममै सही, मार्क्सवादी सरकार भएका बेला मार्क्सवादी व्याख्या नै बढी काम लाग्ला । आखिर प्रहरी संगठन राज्यको एउटा विस्तारित रूप न हो ! राज्य जसको हातमा छ, प्रहरी तिनकै खल्तीमा हुन्छ । प्रहरी राजतन्त्रमा राजावादी, गणतन्त्रमा गणतन्त्रवादी । शासन गर्ने परिपाटीमा अपराधलाई संरक्षण गर्नेहरूको बोलवाला भएका बेला प्रहरीले गर्ने पनि त्यही हो । बीसौं शताब्दीका विख्यात संरचनावादी मार्क्सवादी चिन्तक अल्थुसरले राज्यले आफ्नो प्रभुत्व जमाउने दुई प्रणाली देखे । उनको विश्लेषणमा, राज्यले वैचारिकीबाट जनतालाई आफ्नो प्रभावमा ल्याउन सक्छ । यो अलि ‘सफ्ट’ र तुलनात्मक रूपमा शिष्ट देखिन सक्छ । अर्कातिर, राज्यको प्रभुत्वको अन्तिम औजार भनेको दमन नै हो । यो ‘दमनकारी राज्य प्रणाली’ भित्र अल्थुसरले प्रहरीलाई पनि राखेका छन् । प्रहरीको दमनकारी प्रवृत्ति नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि देख्न सकिन्छ । अमेरिकामा प्रहरीले काला जातिका युवालाई शंकाका भरमा र गोली नचलाउनुपर्ने अवस्थामा पनि गोली ठोकेर हत्या गरेको विरोधमा केही वर्षअगाडि ‘ब्ल्याक लाइभ्स म्याटर’ भन्ने आन्दोलन नै चल्यो । नेपालको मधेस आन्दोलनमा पनि प्रहरीको दमन त देखेकै हो । त्यसो भए के प्रहरी संगठन जनतालाई दमन गर्न मात्र बनेको हो त ? यसो भन्नु पनि अतिशयोक्ति हुन जान्छ । प्रहरीले मानिसका व्यक्तिवादी अराजक व्यवहारलाई ठूलै हदसम्म नियन्त्रण गरेर समाज सञ्चालन हुन दिएकै छ । जनताको करबाट बाँचेको प्रहरीको त्यो आधारभूत काम हो । चोरी, लुटपाट र हत्या–हिंसाको डरबाट स्वतन्त्र भएर नागरिकले बाँच्न पाउनुपर्छ र प्रहरीले धेरै हदसम्म त्यो स्वतन्त्रताको प्रत्याभूति पनि गरेको छ । यद्यपि राज्यलाई चुनौती दिने जसका विरुद्ध पनि, अल्थुसरकै व्याख्यामा जस्तै, प्रहरी दमन गर्न उद्यत हुन्छ । त्यो चुनौती जस्तो पनि हुनसक्छ— मधेसीको राजनीतिक चुनौती, अराजक नै देखिए पनि भिटेनको नैतिक चुनौती वा जिउँदै मानिस जलाउने सांसदविरुद्ध पीडितको बाह्र वर्ष लामो चुनौती । त्यस्तै, राज्य व्यवस्थामै देखिने भ्रष्टाचार प्रहरीमा पनि देखिने नै भयो ।
प्रहरी कसको साथी ? खुला लोकतान्त्रिक समाजमा नागरिकले राज्यको विरोध गर्न पाउनुपर्छ । राज्यका बेथिति, विभेद, पुरातन मानसिकतालाई चुनौती दिन पाउनैपर्छ । यी चुनौती शान्तिपूर्ण छन् भने, प्रहरीले गलत हस्तक्षेप गर्न पाउनु हुँदैन । प्रहरीले कानुन र त्यसको ‘स्पिरिट’ को पालना गर्नैपर्छ । सायद स्वस्थ लोकतान्त्रिक समाजमा आफूलाई ढाल्न पनि प्रहरीले ‘प्रहरी मेरो साथी’ जस्ता अभियान चलाएको हो । नेपाली नागरिकका हैसियतले त्यस्ता अभियान सफल होऊन् भन्ने हाम्रो पनि कामना हो । तर अहिलेको अवस्थामा प्रहरी साथी हुन त परै जाओस्, नजिकबाट हिंँड्दा पनि त्यसै डराउनुपर्ने अवस्था छ । पूर्वडीआईजी रमेश खरेलले विभिन्न अन्तर्वार्तामा खुलाए जस्तै, पैसाको सुटकेस मन्त्रीलाई चढाएपछि मात्र ‘चिफ साब’ पाउने भद्दा प्रहरी संगठनबाट जनताले के अपेक्षा गर्न सक्छ ? कुनै प्रहरीले छिमेकमा चारतले घर बनाएर रातो प्लेटको गाडी चढ्न थाल्यो भने पनि सुरक्षाको प्रत्याभूति होइन, भ्रष्टाचारको दुर्गन्धले टोलै ह्वास्स गन्हाउँछ । यथार्थमै ‘प्रहरी मेरो साथी’ सफल बनाउन आगामी प्रहरी नेतृत्वले के गर्छ ? कि पैसाका सुटकेस तयार भइसके, सरहरू ? यी प्रश्न ती सुटकेस लिने नेतागणलाई पनि गर्न सकिन्छ । तर तिनबाट त कुनै अपेक्षै छैन !
दृष्टिकोण
लोकतन्त्रका 'लोक'
समवेत
- सरिता तिवारी
एक जना साहित्यिक संगठक मित्रको घरमा पाहुना बन्न पुगियो । साँझ गफ गर्न वरपरका मान्छे भेला भए । भलाकुसारीका क्रममा साथीका बाले तीस हाराहारी उमेरका छोराबारे जिज्ञासा राखे, ‘नेता बन्छु भनेर हिँड्यो ! कुद्या कुद्यै गर्छ । के छ, यसको छेकछन्द ? अलि ठूलै नेता बन्छ कि भारेभुरे मात्रै ?’ हामी आफ्नै भविष्यका असंख्य अनिश्चितताका बीचमा हुन्छौं । अरूको व्यक्तित्वको भविष्यवाणी गर्ने दुस्साहस झन् कसरी गर्न सक्छौं ? भोलिका दिनमा को कस्तो बन्ला, अहिल्यै कसरी भन्न सकिन्छ ? फेरि पनि जिज्ञासा राखिएको व्यक्तिबारे हालसम्मको बुझाइबाट बनेको प्रत्युत्तर दिएँ । विगतमा विद्यार्थी राजनीतिमा ज्यान फालेर लागेका ती युवा यतिखेर पार्टीको प्रत्यक्ष राजनीतिमा छैनन् । तर पार्टीका कतिपय नेताको गम्भीर नजरमा छन् । पार्टीका लागि आवश्यक पर्दा उद्घोषण, भाषण, पर्चालेखन इत्यादि गर्न बोलाइन्छन् । अध्ययनशीलता, नेतृत्व क्षमता र संगठन गर्ने कला देखेकै कारण म उनीभित्र विशेष सम्भावना देख्छु । इमानदार छन् । खुराफात, तिकडम गर्दैनन् । त्यसो हुँदा आजको ‘राजनीतिक’ रंगमञ्चमा पूर्ण रूपले ‘फिट’ भएर सफलता पाउने सम्भावनाचाहिँ कम देख्छु । ‘नेता बन्ने हो भने पार्टीकै नेता बन्नुपर्छ, हेर्नुस् । लेखकको नेता भएर के काम ? पढाइले, इमानले के हुन्छ ? हो, सुरु–सुरुमा खुब इमानी बन्नुपर्छ । सबैलाई भरोसामा पार्नुपर्छ । तर भोलि राम्रो ठाउँमा पुगेपछि त्यति बेलासम्मको लागत ब्याजसमेत उठाउनुपर्छ । टन्न सम्पत्ति जोड्नुपर्छ । आफन्त, इष्टमित्रलाई पनि हेर्नुपर्छ । बुझ्नु भो ?’ गफको प्रसंगमा एक जना छिमेकीले राखेको यो भनाइ सीधा र स्पष्ट थियो । हामीले झुठ र भ्रष्टतालाई कसरी संस्कृतिकै रूपमा अनुमोदन गरिसकेका रहेछौं ! त्यो कति सामान्य र सहज भैसकेको रहेछ ! खेतीकिसानीबाट आजीविका गर्दै उमेरको ठूलो हिस्सा काटेका ती सरल मानिसको कुराले मेरो दिमागका तार नराम्रोसँग बटारिए ! व्यवस्थाका समस्या र विडम्बनाहरू नेता र नेतृत्व, कर्मचारीतन्त्र र प्रशासनभित्र चाहिँ देख्ने तर लोक अर्थात् जनताको मानसमा जब्बर भएर बसेको भ्रष्टतालाई भने खासै ध्यान नदिने समस्या छ हामीसँग । आखिर नेता यही समाजबाट, यहीँको संस्कार र चरित्रबाट निस्केर उत्पादन हुन्छ । हामी यही चीज बिर्सिरहेका हुँदा रहेछौं । अनुभवले देखाउँछ, जनता त्यति बेलासम्म असल, आदर्श नेताको कल्पना गर्छन्, जति बेलासम्म नेतासँग आफ्नो प्रत्यक्ष स्वार्थ–सम्बन्ध स्थापित हुने सम्भावना रहन्न । आफ्ना इष्टमित्र, आफन्त वृत्तबाट कोही नेतृत्वमा पुग्नासाथ सतहमा ‘लोक’ अर्थात् जनसाधारण वर्गको समेत नैतिक हैसियत देखिन थाल्छ । आँ–आँ गरेर माउको चारो पर्खेका बचेराझैँ ती सार्वजनिक पदधारी अमुक आफन्त नेताको कृपाभन्दा पर केही देख्दैनन् । मौका पाए जस्तोसुकै झुठ र अनियमितताका लागि उत्प्रेरित मात्रै गर्दैनन्, आफैसमेत उद्यत हुन्छन् । त्यसैले खराब र दुर्नाम शासकको चर्चा गर्दा ‘जनता’ को दिमागमा झाँगिएको भ्रष्टताको पनि भर्त्सना गर्नु जरुरी छ ।
ॅअधम’ हरूको शासन आधुनिक लोकतन्त्रमा जनताको मतको महत्त्व सर्वोपरि छ । यस्तो पद्धतिमा नेतृत्व मात्रै परीक्षित हुँदैन, पार्टी र नेतृत्वलाई अनुमोदन गर्ने जनताको चेतना पनि परीक्षित हुन्छ । आवधिक निर्वाचनमार्फत देशको स्टेरिङ थाम्ने हात छान्ने हक पाएको साधारण जनता निर्वाचनका बेला जति बलियो लाग्छ, निर्वाचनपछिका वर्षहरूमा त्यति नै कमजोर ! त्यस्तो किन हुन्छ भने, हिजोका ‘बलिया’ तिनै जनता अब अनेक स्वार्थ र आकांक्षा बोकेर नेताको परिक्रमा गर्न थाल्छन् । चाप्लुसी गर्न र रिझाउन थाल्छन् । त्यसपछि नेता तमाम दुःखको मुक्तिदाता, महाबली ‘ईश्वर’ कै आसनमा विराजित भएको अतिरेकमा पुग्छ । त्यस्तो नेताले जनतालाई निरीह रैती मात्रै देख्न थाल्नु आश्चर्य होइन । यस प्रकार आधुनिक युगका ‘महाबली’, दम्भी र मूर्ख शासक आफै जन्मने होइनन्, जनताले जन्माउँछन्, त्यो पनि लोकतन्त्रकै नाममा । अंग्रेजीमा एउटा शब्द छ— ककिस्टोक्रेसी । यसको अर्थ हुन्छ— बुद्धिहीन, अधम र बेइमानहरूले चलाउने शासन । सत्रौं शताब्दीमा पल गस्नोल्डले प्रयोग गरेर थालिएको यो शब्दको उपयोग त्यसपछि अनेक कवि–लेखकले गरे । यद्यपि अभिजातवर्गीय शासन (एरिस्टोक्रेसी) को विपरीतार्थमा पनि यसको प्रयोग हुने गरेको छ । बीचको लामो समय लगभग प्रयोगमा नआई थन्किएको यो शब्दलाई पछिल्ला वर्षमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आलोचकहरूले पुनः प्रचलनमा ल्याएका छन् । ‘वान नेसन अन्डर ट्रम्प’ का सहलेखक नर्मन अर्नस्टेनले ट्रम्पको ह्वाइट हाउस आगमनको वर्षदिनपछि लेखे, शासकको चरित्रसँगै पुरानो शब्द फर्किएको छ, आजको अमेरिकामा ! हुन पनि, मुर्ख्याइँ र सुर्र्याइँकै भरमा अमेरिकाजस्तो ‘सुपर स्टेट’ चलाइरहेका ट्रम्पले केही दिनअघि मात्रै फेक पत्रकारिता गरेको, जतिखेरै आफ्नो आलोचना गरेको भन्दै राष्ट्रपति निवासमा ‘वासिङ्टन पोष्ट’ र ‘न्युयोर्क टाइम्स’ दैनिकको सदस्यता नवीकरण रोकिदिएका मात्रै छैनन्, ती अखबारलाई निषेध नै गरिदिएका छन् । सत्य के हो भने, यस्ता ट्रम्पलाई देशको सर्वोच्च पदमा पुर्याउने अरू कोही होइनन्, त्यहीँका लोक अर्थात् जनता हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पका आलोचकद्वारा अत्यधिक प्रयोग गरिएको ‘ककिस्टोक्रेसी’ नेपाली सान्दर्भमा हुबहु मिल्छ । हामीले पटक–पटक अक्षम र अधमहरूलाई आफ्नो भाग्य र भविष्य कोर्ने जिम्मा दिएका छौं । वर्तमान सरकारको गतिविधि र प्रधानमन्त्रीले बोलेका कुरा सुन्दा ककिस्टोक्रेसी अर्थात् ‘अधम’ शासनको उत्कर्ष रूप यस्तै हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । अलि पहिले प्रधानमन्त्रीले भने, ‘संविधानले मिल्ने भए दुइटा प्रधानमन्त्री पनि बनाउँथ्यौं । यो पावरको कुरो होइन, देश बनाउने कुरा हो ।’ जगत्लाई थाहा छ, शक्तिको उत्कट लोभ नहुँदो हो त उनकै पार्टीमा कहीँ नभएको द्वैध–अध्यक्षताको अभ्यास किन गरिन्थ्यो ? शक्तिको दर्पले गजक्क फुलेको मुद्रामा उनी बोलिरहँदा भिडियोको पार्श्वमा गललल हाँसो छुट्यो । पंक्तिकारलाई भने प्रधानमन्त्रीका यस्ता बोली व्यवस्थामाथिको चरम उपहास र व्यंग्यका रूपकभन्दा बढी केही लाग्ने गरेका छैनन् । उनी बेलाबेला बुद्धि र बौद्धिकप्रतिको तुष ओकलिरहन्छन् । नैतिक संकटको भुमरीमा फसिरहेको प्रतिपक्षी दलभन्दा कता हो कता बलियो र आक्रामक बौद्धिक वर्गलाई थला पार्ने कुरा दोहोर्याइरहँदा उनी आफूलाई मैदानको एक्लो विजेता महसुस गर्दा हुन् । तर बारम्बार बुद्धिको उपहास गरिरहँदा उनी बौद्धिकहरूप्रति कतिसम्म भयाक्रान्त भएर यस्ता मूर्ख अभिव्यक्ति दिन्छन् भन्ने पत्तो पाउन गाह्रो छैन । ‘लोक’ स्वाधीन विवेकले सोच्ने र विवेकसम्मत निर्णय गर्न सक्ने अवस्थामा नपुग्दासम्म ‘ककिस्टोक्रेसी’ अर्थात् अधमहरूको शासन लोकतन्त्रको त्रासदी रहिरहनेछ ।
उन्मुक्त विवेकको क्रान्ति नेपाल र अपवादलाई छोडेर विश्वका लगभग सबै देशमा पुँजीवादी प्रजातन्त्र भर्सेस साम्यवादी अधिनायकत्व बीचको द्वन्द्व करिब–करिब समाप्त भएको छ । ‘पावर सिफ्ट ः नलेज, वेल्थ एन्ड भोइलेन्स एट द इड्ज अफ द ट्वेन्टी फर्स्ट सेन्चुरी’ का लेखक एभलिन टफलर एक्काइसौं शताब्दीको लोकतन्त्रको चुनौतीका रूपमा शासकको दिमागमा बौरिएको एघारौं शताब्दीको अन्धयुगीन चेतलाई देख्छन् । आजको लोकतन्त्रका सबैभन्दा ठूला सकस लोकतान्त्रिक पद्धतिको माध्यमबाटै निर्माण भएका मूर्ख शासकहरू हुन् । गलत शासनको आलोचना गर्न जनताको पंक्ति सही र ठीक विन्दुमा उभिएको हुनुपर्छ । त्यहाँ क्षुद्र व्यक्तिगत लोभ, स्वार्थ र अपेक्षा हुनु हुँदैन । त्यसो हुनलाई जनता स्वाधीन विवेक र उन्मुक्त चेतनाको क्रान्ति गर्न तयार हुनुपर्छ । हाम्रो बीचबाट जन्मेर निस्कने नेतासँग हाम्रा अपेक्षाहरू नैतिक, मर्यादित र सामूहिक–सामाजिक स्वार्थसँग जोडिएको हुनुपर्छ, तब मात्रै सक्षम, योग्य र समाजको भविष्यप्रति विश्वस्त हुन सक्ने नेतृत्व निर्माण हुन सक्छ । अक्षम शासकका हर्कतले वाक्क–दिक्क परेर तिनलाई धीत मरुन्जेल गाली गरिरहँदा अति व्यक्तिगत आशाको पुलिन्दा बोकेर साम, दाम, दण्ड, भेद हरेक कुरामा पारङ्गत भए मात्रै नेता बनिन्छ भन्ने पारिवारिक, सामाजिक स्कुलिङ कति जब्बर छ भन्ने पनि ख्याल राख्नुपर्छ । आज बन्दै गरेका नेता भोलि देशको नेतृत्व थाम्ने मिहिँखम्बा हुन् । हामीले कल्पना गरेको असल र आदर्श नेता अभ्यासमा पनि त्यस्तै होओस् भन्न ‘लोक’ को चेतना सबै खालका भ्रष्टताको रोगबाट मुक्त हुनुपर्छ । जनसाधारणको मनोदशा नै भ्रष्ट र स्वार्थी रहिरहुन्जेल शुद्ध र चोखो लोकतन्त्रको कल्पना निरर्थक छ । जायज–नाजायज अपेक्षाको चाङ तेर्स्याएर ताक परे जस्तोसुकै तरिकाले पनि चाप्लुसी गर्ने, नेतृत्वलाई ईश्वर र मुक्तिदाताको स्थानमा विराजित गरी तिनका मूर्खता र बहुलट्ठीपनमाथि आँखा चिम्लेर शक्ति र सत्तासँग नतमस्तक हुने ‘लोक’ नै वास्तवमा लोकतन्त्रका खतरा हुन् । लोकको विवेकमा शुद्धीकरणको क्रान्ति नभई व्यवस्थाको, नेतृत्वको शुद्धीकरण सम्भव छैन ।
दृष्टिकोण
बिन पानी छठ सून
डेटलाइन तराई
- चन्द्रकिशोर
छठ आज सुरु हुँदै छ । यो पर्व र पानीबीच अभिन्न नाता छ । चारै दिन पर्वका सामग्रीको स्वच्छता, स्नान, अर्घ्य र अनुष्ठान सबैका लागि पानी चाहिन्छ । कुनै जलाशयको किनारमा पूजा गर्नु यसको अनिवार्य पक्ष हो । पछिल्ला वर्षहरूमा आफ्नै घरआँगनमा पूजा गर्न खोज्नेहरूले पनि कृत्रिम जलाशय बनाएकै हुन्छन् । छठ मात्रै किन ? हाम्रा अन्य पर्व र अनुष्ठानले पनि पानीबिना पूर्णता पाउँदैनन् । जन्मदेखि मृत्युसम्मका कुनै पनि सांस्कृतिक कर्म पानीबिना पूर्ण हुँदैनन् । छठकै लोकगीतहरूमा पानीको गरिमा र यसको प्रयोजन अभिव्यञ्जित भएको पाइन्छ । छठमार्फत पानीप्रति आदराञ्जली प्रकट गरिन्छ । नदी र पोखरीको सामीप्य नपाएको अहिलेको पुस्ताका लागि नदी धर्मसँग परिचित हुने अवसर हो यो । छठको सामाजिक आयामतर्फ नजर लगाउँदा, भोजपुरी क्षेत्रहरूमा छठ पूजाका लागि स्थायी पिण्ड बनाएर राख्ने चलन छ, जुन नदी र पोखरीको घाट किनारमा हुन्छ । भोजपुरी क्षेत्रमा लामो समयदेखि चल्दै आएको यो चलन मिथिला क्षेत्रमा भने प्रायः छैन । इँटा वा ढुंगाले बनाइने त्यस्ता बनाइएका पिण्डको लोकइतिहासबारे अपेक्षित जानकारी नपाइए पनि भोजपुरी क्षेत्रमा तिनको संख्या वर्षेनि बढ्दो छ । पछिल्ला दशकमा संयुक्त परिवार विघटित हुँदै गएकाले एउटै परिवारमा अब कैयौं छठी माई भइसकेका छन्, जसका लागि अलग–अलग पिण्ड बनाइन्छन् । परिवार र समुदायबीच एकभन्दा बढी भर्याङवाला पिण्ड बनाउने होड चल्ने गर्छ । मानौं एक–अर्काभन्दा श्रेष्ठ र शीर्ष देखिने अघोषित प्रतियोगिता हो छठ । कतिपय ठाउँमा त छठी मैयाको अस्थायी प्रतिमा नै बनाइएको पाइन्छ । छठलाई पहिचानको राजनीतिसँग पनि जोड्ने गरिएको छ । केही समययता शैक्षिक प्रतिष्ठान र सामाजिक संस्थाहरूले यस्तो कार्यलाई प्रश्रय दिएका छन् । तर यसले केही प्रश्न पनि खडा गरेको छ— छठ पर्व अनुष्ठान हो कि अभिनय ? आस्था हो कि आडम्बर ? छठ पर्वलाई अत्यन्त आस्था र निष्ठासाथ मनाउने चलन छ । यसमा कुनै पुरोहित वा कर्मकाण्ड हुँदैन । कृषि र प्रकृतिसँग जोडिएको यो पर्वमा बजारले प्रवेश पाएलगत्तै आडम्बरले ठाउँ लिन थालेको छ । त्यसैले पहिचान प्रदर्शनका लागि छठ पर्वको कलात्मक मञ्चनलाई कतिपयले औचित्यपूर्ण ठानेका छन् भने, कतिपयले यसबाट मौलिकता मासिने खतरा देखेका छन् । पूजा समितिहरूले अतिथि निम्त्याउने र तिनबाट अर्घ्य दिन लाउने नयाँ चलन चलाएका छन्, जसमा उनीहरू यस पर्वको स्वीकार्यता बढेको र राजकीय मान पाएको अनुभूति गर्छन् । छठ समावेशी हुँदै गयो, पहाड उक्लियो भन्ने जस्ता सकारात्मक सन्देश फैलिँदै जानुले यो लोकपर्वको गुरुत्वलाई बढाए पनि उपयोगितावादको अन्धदौडका कारण छठमा अभिव्यक्त हुने प्रकृतिप्रतिको कृतज्ञता बिर्सिइँदै गएको छ । यही कारण हो, छठ तयारीको क्रममा जलाशयहरूको सरसफाइ र मर्मत खुलेर गरिए पनि, सम्पन्न भएपछि पूजा सामग्रीका अवशेष त्यत्तिकै छाडिन्छन्, जसले फेरि प्रदूषण बढाउँछ । अर्कातिर, पारम्परिक जलस्रोतहरू विघटित हुँदै गएका छन् । पोखरी र इनार मासिँंदै गएका छन्, अतिक्रमित भएका छन् । नदीसँग समाजको सम्बन्ध टुट्दै गएको छ । तराईमा पानी एउटा ठूलो चिन्ता, गम्भीर मुद्दा र संकटको सवाल बन्दै गएको छ । नदी वा जलाशयलाई हाम्रो समाजले प्रकृतिको एउटा जीवित सत्ताका रूपमा स्वीकार गर्दै आएको छ । त्यसैले समाजले कुनैलाई माई भन्यो त कुनैलाई दिदी वा बहिनी । यसको अर्थ थियो— पानीको महत्त्व बुझ्नु, पवित्रताप्रति हेक्का राख्नु र स्रोतहरूको संरक्षण गर्नु । तर छठ पर्वले विस्तार पाउँदै गए पनि यसमा अन्तर्निहित लोकसन्देश भने विस्मृत हुँदै गएको छ । पानीसँग अटुट नाता जोडिएको पर्व मनाउने समाजले पानीको पुर्ख्यौली ज्ञान बिर्संदै गएको छ । भौगोलिक विविधता, पानीको उपलब्धता र सामाजिक–सांस्कृतिक अन्तरहरूका कारण विभिन्न ठाउँका मानिसको पानी प्रयोगको परम्परा बेग्लाबग्लै रूपमा भए पनि बाँचिरहेको हुन्छ । यो कुनै शासक वा संगठित संस्थाको प्रयत्नले भएको हुँदैन । तर परिवर्तित समयमा पानीमाथिको स्वामित्व, प्रयोग र प्रविधिको सान्दर्भिकता फेरिँंदै गएको छ । प्रत्येक समाजमा आ–आफ्नै प्रकारका सूक्ष्मता र विशेषताहरू हुने भएकाले फैलिंँदो छठले पनि आफ्नो पारम्परिक थलोका मूल विशेषताहरूलाई अन्यत्रका परम्परासँग जोड्दै गयो भने यो जीवन्त रहिरहन्छ । पानीको इज्जत गर्नु, मितव्ययी तरिकाले प्रयोग गर्न सिक्नु भनेकै छठको महत्त्व बुझ्नु हो । बजारको दुनियाँ हो यो । बजारले हामीलाई पानीको मूल्य बताउँछ । अनि हामी बुझ्छौं, बोतलमा बिक्रीका लागि राखिएको पानी कति महँगो छ । पानी सार्वजनिक सम्पत्ति भए पनि निजीकरण हुँदै गएको छ । पानीको आपूर्तिका लागि समाधानका रूपमा रोजिएको निजीकरण आफैमा संकट भएर खडा हुँदै छ । प्रकृतिको वरदानका रूपमा सहज प्राप्त पानीलाई हामी जसरी निस्फिक्री चलाइराखेका हुन्छौं, त्यही पानी किनेर ल्याउँदा हाम्रो प्रयोगको सीमितता हुन जान्छ । स्विमिङ पुललाई जति ध्यान नदिएकाले पोखरी र इनारहरू मासिँदै गए । नदीनालालाई हामीले साँघुरा र प्रदूषणयुक्त बनायौं । तराईमा आसन्न पानी संकट वर्षौंका गलत सरकारी नीतिहरूको नतिजा हो । बहुतहका सरकारहरू नदी, पोखरी र इनारको अस्तित्व जोगाउनभन्दा पनि मास्नमा बढी केन्द्रित देखिएका छन् । नदीदोहन गरी आयआर्जन गर्दै छन् भने पोखरी र इनारहरू फगत घडेरीका जग्गा । राज्यका लागि पानीको अर्थ सिंचाइ र नहर, निकास र बाँध, जलाशय र जलविद्युत्, अन्तरप्रादेशिक नदीहरूको स्रोतमाथिको व्यवस्थापन र खानेपानी आपूर्ति मात्रै बनेको छ । भूजल र त्यससम्बद्ध समस्याप्रति चासो देखिँंदैन । पारम्परिक जलस्रोतहरूको रक्षाका मौलिक उपायहरूप्रति पनि गम्भीरता पाइँदैन । समाजको पानीमाथिको अधिकार वा साझेदारीसम्बन्धी विमर्श कतै सुनिंँदैन । भुइँतहमा पानीको प्रभुत्वलाई लिएर जुन द्वन्द्वहरू खडा हुँदै छन्, तीप्रति बहुतहका सरकारले आँखा चिम्लेका छन् । पानीका ससाना स्रोतको व्यवस्थापनका परम्परागत र उपयुक्त प्रविधिहरूबारे भुइँतहमै विचार साझेदारीको आवश्यकता बढ्दै गएको छ । पानीमाथिको पहुँच र प्रभुत्व साँघुरिँदै गर्दा स्थानीय समुदायहरूमा तिनको जीवन र मूल्य–मान्यतामा पर्ने असरको कथा छठ पर्वको बेला स्पष्ट हुन्छ । कुनै बेला इनारको पानीले प्रसादका परिकारहरू बनाइन्थे, अब ती गाउँ–टोलमा इनारै छैन, त्यहाँ चापाकल वा धाराको पानी प्रयोग गरिन्छ । अत्यन्त प्रदूषित पोखरी वा नदी किनारमा भव्य पण्डाल बनाइ पूजा गर्न थालिएको छ । पानीका स्रोतहरू प्रदूषित गर्ने जुन जघन्य अपराधमा समाज स्वयंको हिस्सेदारी छ, त्यसको प्रायश्चित्त आडम्बरयुक्त पूजनले सम्भव हुँदैन । लोकपर्व छठको एउटै सन्देश हो— पानी पूजनीय छ । [email protected]
कला र शैली
यस्तो भयो तिहार
- कान्तिपुर संवाददाता
फेरी लाउँदै हिँडेँ
मनोज गजुरेल, अभिनेता लक्ष्मीपूजाको दिन सिस्नुपानीको देउसीमै व्यस्त भएँ । भोलिपल्ट मात्र झापा ओर्लिएँ । काकाको घरमा भाइटीका मनाएँ । तामसी भोजन छाडेको तीन/चार वर्ष भइसक्यो तर तिहारको बेला, चिल्लोचाप्लो खान्कीबाट कसले रोक्नु ? त्यस हिसाबले यसपालिको तिहार ग्यास्ट्रिकपूर्ण भयो ।
म झापाको सुरुंगा आइपुग्दा सिस्नुपानीको देउसीको भिडियो छाइसकेको रहेछ यता पनि । यसपालि सी चिनफिङ र फेरी लाउने जोगी बनेको थिएँ । शुभचिन्तकहरूले सी चिनफिङ बन्न आग्रह गरे । मेकअपको कारण सम्भव भएन तर जोगीचाहिँ बनेँ । हातैले शंख बजाउन आउँछ मलाई । राति व्यंग्यात्मक मन्त्र भन्दै केही घरमा फेरी लाएँ । मान्छेहरू साँच्चिकै दान दिन आइपुगे । कति हाँस्नु । आफ्नो थातथलो आएपछि केही सामाजिक दायित्वले थिची नै हाल्छ । टोलछिमेकका भाइबहिनीसित सामाजिक उद्देश्यसहित देउसी खेलें । पर्यटन प्रवर्द्धनको ध्येयले हल्दीबारीमा कार्यक्रम थियो, भाइटीकाको भोलिपल्ट सहभागी भएर आफ्नो प्रस्तुति दिएँ । फुर्सदको बेला मोबाइलमै वानमेन कलब्रेक खेलें । मलाई आउने भनेकै जुटपत्ती र कलब्रेक हो । जुटपत्ती खेल्न साथी थिएनन् । वानमेन सो दिएँ मोबाइलमै । अर्को महत्त्वपूर्ण कुराचाहिँ मोबाइलबाटै सद्गुरुको इनर इन्जिनियरिङ ध्यान कोर्स गरें ।
च्याउको सेकुवा खाएँ
दीपाश्री निरौला, निर्देशक अहिलेसम्म तिहारै लागिरहेको छ । छठसम्म विराटनगरमै हुन्छु । गोबर्द्धन पूजाको दिन काठमाडौंबाट आएकी हुँ । इनरुवा, झापा र काठमाडौंदेखि दिदीबहिनी आउनुभएको छ । भाइहरू दुई जना छन्, यसपालि अरू दुई जना थपिए । एक जना दाइको छोरा, अर्कोचाहिँ फोटोग्राफर किशोर रिजाल । ‘राष्ट्रिय दिदीसँग टीका लाउँछु’ भन्दै घरमै आउनुभयो । यसलाई ठूलो प्रेम र सद्भाव मानेको छु । हाम्रा पर्वहरूको महत्त्व यसैमा त छ नि । विराटनगर रंगशाला पछाडि, गहेली टोलमा हाम्रो घर छ । सानो छँदा तिहारबेला साडी लाउन खुब मन लाग्थ्यो । एकपटक लक्ष्मीपूजाको झिलीमिली साँझ एकजना काकीको साडी मागेर बजार घुम्न गएको थिएँ, पटाकाको आलो साडीमा सल्कियो । काकी रिसाउनुभयो । कमाउन सक्ने भएपछि काकीलाई साडी किनिदिएको याद अहिले पनि आउँछ । फुर्सदको समय तिहारमा प्रायः तास खेल्छु । म्यारिज खेलौं भन्छन् अरू, मलाई फलाँसभन्दा आउँदैन । भेजेटेरियन भएको कारण पनिर र च्याउको सेकुवा खाँदै तास खेलें । यसपटक ‘छ माया छपक्कै’ को प्रशंसासहितको पर्व बन्यो तिहार । काठमाडौंमा त अहिले पनि हाउसफुल नै छ । यताका हलमा पनि फिफ्टी पर्सेन्ट अकुपेन्सी छ अझै पनि ।
मदिरारहित मनाएँ
कुञ्जना घिमिरे, अभिनेत्री तिहारअघिसम्म त फिल्म ‘सेन्टी भाइरस’ कै सुटिङ सेड्युलले व्यस्त बनायो । डिन्डु र फुर्वा शेर्पासँग मिलेर हामी (धुर्मुस–सुन्तली) ले बनाइरहेको फिल्म हो यो । लक्ष्मीपूजाको दिन घरमा मैले नै दियो बालेर लक्ष्मी भित्र्याउँदै आएकी छु । यसपटक केही ढिला भयो सिस्नुपानीको कार्यक्रमले गर्दा । उहाँ (सीताराम कट्टेल) प्रधानमन्त्री केपी ओलीको नक्कली भूमिकामा हुनुभएको कारण म पनि सँगै गइदिएँ । फर्किंदा अबेर भइसकेको थियो । तैपनि सासू–ससुरा र अरू आफन्त घरमै भएका कारण रंगोलीचाहिँ बनिसकेको रहेछ । मैले बत्ती बालेर लक्ष्मी भित्र्याएँ । गोरु तिहारको दिन परिवार सबै मिलेर फिल्म हेर्न गयौं । यसपालि घरमा सेलरोटी भिनाजुले पकाउनुभयो । खानेकुरा बनाउन दिदी पनि सोखिन हुनुहुन्छ । अरू बेला भाइटीका माइती (चापागाउँ) मा हुन्थ्यो । यसपटक भाइलाई घरमै बोलाएँ । दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई प्रेमपूर्ण बनाउने तिहार मलाई एकदमै मनपर्ने चाड हो । टीका लाउँदै गर्दा मनमा एक प्रकारको भावुकता छाउँछ । परिवारमा कोही पनि पिउने छैनन् । प्रायः हाम्रो तिहार मदिरारहित नै हुन्छ । पारिवारिक खेल (तास) भने हाम्रो घर (कुसुन्ती) मा पनि चल्यो तर मैले चाहिँ समय दिनै सकिनँ ।
म्हःपूजाको भिन्नै माला
दीपेन्द्र बनेपाली, चित्रकार यस पटकको तिहार कलामय भयो । लक्ष्मीपूजा र गोबर्द्धन पूजाको दिन हामीले ठिमीको दुई पोखरीमा ‘जीवन्त मध्यपुर’ शीर्षकमा ओपन चित्र प्रदर्शनी राखेका थियौं । सम्पदा केन्द्रित रहेर हरेक शनिबार गर्दै आएको स्थलगत चित्रकला कार्यशालाबाट निर्मित ठिमीकै चित्रलाई शंखधर एसोसिएसन अफ फाइन आर्टले प्रदर्शनीमा ल्याएको थियो । नेवार समुदायको तिहार खासगरी ‘म्हःपूजा’ का लागि अर्थपूर्ण मानिन्छ । यो आफूले आफैंलाई गर्ने पूजा हो । यसको सुरुवात भने अग्रजबाट हुनुपर्छ । मलाई आमा (रापती बनेपाली) ले पूजा गर्नुभयो र त्यसपछि आफैंले गरें, पूजाका क्रममा आमाले घाँटीमा कोखा बाँधिदिनुभयो । यो एक प्रकारको धागो हो । कनिका नभएको शुद्ध चामल कपडामा पोको पारी कोखा बनाइएको हुन्छ । म्हःपूजाको बेला यस्तो लगाइयो भने वर्षभरि लाउने लुगा र खाने अन्नको संकट पर्दैन भन्ने विश्वास गरिन्छ । पूजाको अर्को रमाइलो पक्ष के भने फूल, कटुस, भटमास, धान, दाललगायत सामग्रीलाई मानामा राखेर शिरमा खन्याउने चलन पनि छ । पूजापछि खानपिनको अर्को रमाइलो चल्छ नेवार समुदायमा । खासगरी माछा र अन्डाको सगुन राख्ने चलन छ । मासुको अनेक परिकार बनाएर खाइन्छ । रक्सी त टुट्ने कुरै भएन ।
कला र शैली
फिल्मले चिनाएको गाउँ
- दीपक परियार
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको हेम्जाकोट गाउँ । तस्बिर ः दीपक/कान्तिपुर
(पोखरा) - पाँच वर्षअघि प्रदर्शन भएको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ को ओपनिङ सटमै माछापुच्छ्रेको काखमा एक सुन्दर गाउँको दृश्य देखिन्छ । ढुंगा र माटोको गारो, ढुंगैले छाएका चिटिक्क परेका घरले भरिएको गाउँ हो, कास्कीको हेम्जाकोट । ‘टलकजंग भर्सेस टुल्के’को ७५ प्रतिशत सुटिङ हेम्जाकोटमै भएको हो । माछापुच्छ्रे गाउँपालिकामा पर्ने यो गाउँमा सामुदायिक होमस्टे छ । अन्नपूर्ण आधार शिविर, माछापुच्छ्रे मोडल ट्रेक पुग्ने पर्यटक हेम्जाकोट हुँदै जान्छन् । हेम्जाकोट पुगेपछि आन्तरिक पर्यटकले सोध्ने पहिलो प्रश्न हुन्छ, ‘टलकजंग भर्सेस टुल्के सुटिङ भएका ठाउँ कुन–कुन हुन् ?’ फिल्म हेरेका दर्शकले हेम्जाकोट पुग्ने वित्तिकै फिल्मका बाबुसाहेव (प्रकाश घिमिरे) को घर चिनिहाल्छन् । टुल्के (खगेन्द्र लामिछाने) पुगिरहने भट्टी भेटिहाल्छन् । फिल्ममा टुल्के, सुके (सुशांक मैनाली), हनुमान (बुद्धि तामाङ), टंके (सुदाम सिके), ढिकरे (हुम बीसी) भेटेर गफिने भट्टिमा पुग्दा दर्शक फिल्मकै दृश्य सम्झिएर रमाइलो मान्छन् । हेम्जाकोट तल धितालका फाँटमा लहलह धान झुलेका देखिन्छन् । अलि तल शान्त बगिरहेको देखिन्छ मर्दी र इदी खोला । फिल्म युनिट हेम्जाकोट पुगेपछि गाउँका अगुवा खड्गबहादुर गुरुङले सुटिङको लागि आफ्नो घर दिए । त्यहीं घरले साइली (रजनी गुरुङ) को भट्टीको परिचय पायो । त्यसो त, फिल्मकै सुटिङपछि गाउँ पुग्ने पर्यटक केही मात्रामा बढेको गुरुङ बताउँछन् । ‘टलकजंग भर्सेस टुल्के’ पछि हेम्जाकोटमा धमाधम फिल्म सुटिङ भएका छन् । आँखै अघि देखिने माछापुच्छ्रे हिमाल, अन्नपूर्ण हिमशृंखला, पर्यटकीय गाउँ धम्पुस, धिताल, अस्ताम, लाहाचोक, घाचोक, भिडाबारी, इदी खोला, मर्दी खोला, ल्वाङघलेल लगायतले माछापुच्छ्रे गाउँपालिकामा फिल्म सुटिङको लहर छ । तीन वर्षअघि चेलिबेटी बेचबिखनसम्बन्धी अंग्रेजी वृत्तचित्र ‘सोल’ छायांकन भयो । दीपक–दीपाको ‘छक्का पञ्जा २’ र रामबाबु गुरुङ निर्देशित ‘साईली’ पनि हेम्जाकोट र गाउँपालिकाका विभिन्न स्थानमा सुटिङ भयो । हेम्जाकोटमा ‘साली कसको भेनाको’, ‘स्वीकार’, केही गुरुङ चलचित्र र म्युजिक भिडियो पनि छायांकन गरिएका छन् । गाउँमा फिल्म सुटिङ हुँदा प्रचारप्रसार पनि हुने र स्थानीयले आयआर्जन पनि गर्ने बताउँछन् हेम्जाकोट–धिताल सामुदायिक होमस्टेका अध्यक्ष ईश्वर गुरुङ । उनका अनुसार ‘सोल’ वृत्तचित्र सुटिङ हुँदा विदेशीसहित १ सय ५० जनाको टोली एक महिना हेम्जाकोट बस्यो । फिल्म युनिट हेम्जाकोट बस्दा होमस्टेमा बाँडिएर बस्ने गरेको अध्यक्ष गुरुङ बताउँछन् । गाउँमा फिल्म सुटिङ हुँदा मेला लागेजस्तै हुने अगुवा खड्गबहादुर गुरुङ सम्झन्छन् । भूतपूर्व भारतीय सेना उनले ‘टलकजंग भर्सेस टुल्के’ को सुटिङमा फौजी तालिम नै दिए । फिल्म प्रदर्शन भएपछि फिल्म युनिटले हेम्जाकोटका स्थानीयलाई पोखरामा एक दिन निःशुल्क फिल्म देखायो । स्थानीय कुमार गुरुङले दयाहाङ राईलाई पहिलोपल्ट त्यहीं भेटे । ‘फिल्म हेर्दा डरलाग्दो लागेको थियो,’ उनले भने, ‘मान्छे भेट्दा निकै सरल रहेछन् ।’ चलचित्र विकास बोर्डले एकताका बनाउने भनेको अन्तर्राष्ट्रिय फिल्म स्टुडियो हेम्जाकोटकै छिमेकी गाउँ अस्ताममा हो । आर्थिक वर्ष ०६८/६९ को बजेट भाषणमै तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले पोखरालाई फिल्म सिटी घोषणा गरेका थिए । बोर्डका तत्कालिन अध्यक्ष गणेश भण्डारी सहितको टोलीले साविकको धिताल गाविसको स्थलगत अध्ययन गरेको थियो । टोलीले फिल्म स्टुडियो निर्माणको लागि उपयुक्त रहेको र २ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएको पनि थियो तर निर्वाचित जनप्रतिनिधि, पोखरेली चलचित्रकर्मी र अन्य सरोकारवालाले सशक्त आवाज उठाउन नसक्दा फिल्म सिटीको मुद्दा त्यसै सेलायो ।
कला र शैली
देवकोटा जयन्ती
- कान्तिपुर संवाददाता
काठमाडौं (कास)– त्रिमूर्ति निकेतनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जयन्तीको अवसरमा राजधानीमा काव्यसभा एवं परिचर्चा गर्यो । सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतन परिसरमा अवस्थित महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पणपछि काव्यसभा सुरु भएको थियो । यादव भट्टराई, ललिता दोषी र रश्मि रिमालले कविता वाचन गरेको सभामा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसार्इं, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी र सदस्यसचिव नरेन्द्रराज प्रसाईंले महाकवि देवकोटाले नेपाली भाषा–साहित्यमा पुर्याएको योगदानबारे चर्चा गरे । कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानार्थ नई प्रकाशनको संयोजनमा २०६१ मा त्रिमूर्ति निकेतनको स्थापना गरिएको थियो ।
कला र शैली
भट्टराई र सिलवाललाई सयपत्री
- कान्तिपुर संवाददाता
काठमाडौं (कास)– साहित्यकारद्वय प्राडा. गोविन्दराज भट्टराई र छविरमण सिलवाल दम्पतीलाई यस वर्षको सयपत्री राष्ट्रिय सम्मान प्रदान गरिएको छ । सयपत्री प्रतिष्ठान नेपालले दुई दशकदेखि साहित्यिक दम्पतीलाई दिँदै आएको सम्मान भट्टराई र पत्नी डा. अञ्जना भट्टराईसँगै सिलवाल र पत्नी तुलसादेवी मैनालीलाई दिइएको हो । संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले दोसल्ला ओढाई ताम्रपत्र हस्तान्तरण गरे । देवकोटा जयन्तीको अवसरमा आयोजित कार्यक्रममा स्रष्टा मोहन दुवाल, रामसुन्दर देउजा, शेषराज शिवाकोटी, हरिप्रसाद पाण्डे, प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले महाकवि देवकोटाको योगदानबारे प्रकाश पारे । सम्मानित भट्टराई र सिलवालको योगदानबारे भने सूर्यप्रसाद लाकौजूले प्रकाश पारेका थिए ।
अर्थ वाणिज्य
लोडसेडिङ हटे पनि डेडिकेटेडको नाममा महँगो शुल्क कायमै
लोडसेडिङका बेला निरन्तर विद्युत् पाउने भएपछि उद्योगहरू ६५% बढी शुल्क तिर्न राजी भए । प्राधिकरणले लोडसेडिङ अन्त्यको घोषणा गरेको डेढ वर्ष पुगे पनि बढी शुल्क तिर्नुपर्ने व्यवस्था कायमै छ ।
- विजय तिमल्सिना
(काठमाडौं) - चरम लोडसेडिङका बेला विद्युत् प्राधिकरणले उद्योगहरूसँग अतिरिक्त शुल्क लिई ट्रंक र डेडिकेटेड लाइनमार्फत विद्युत् वितरण गरेको थियो । लोडसेडिङको अवस्थामा निश्चित मापदण्डका आधारमा निरन्तर विद्युत् पाउने भएपछि उद्योगहरू करिब ६५ प्रतिशत बढी शुल्क तिर्न राजी भए । यससम्बन्धी नियमावली जारी भई यो व्यवस्था लागू भयो । तर, प्राधिकरणले औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ अन्त्यको घोषणा गरेको डेढ वर्ष पुगे पनि उद्योगले ६५ प्रतिशत बढी शुल्क तिर्नुपर्ने व्यवस्था भने कायमै छ । २०७३ मा जारी विद्युत् महसुल संकलन नियमावलीको व्यवस्था परिवर्तन नहुँदा प्राधिकरणले उक्त मापदण्डअनुसार विद्युत् लाइन जडान गरेका उद्योगीहरूले बढी शुल्क बुझाउनुपर्ने बाध्यतामा परेका हुन् । तत्कालीन अवस्थामा बढी शुल्क लिने नियमावली विद्युत् महसुल निर्धारण आयोगको स्वीकृतिमा प्राधिकरणले जारी गरेको थियो । अब प्राधिकरणको सिफारिसको आधारमा विद्युत् नियमन आयोगले यो नियमावली परिवर्तन गर्नुपर्ने हुन्छ । नीतिगत निर्णयका कारण महँगो शुल्क कायमै हुँदा उत्पादन लागत बढी परिरहेको र त्यसको असर उपभोक्तामा पुगेको उद्योगीहरू बताउँछन् । लोडसेडिङ सकिए पनि महँगो शुल्क नहट्दा ठूला उद्योगहरू समस्यामा परेको नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले बताए । ‘हामीले शुल्क घटाउन प्राधिकरणलाई लिखित अनुरोध गरेका थियौं,’ उनले भने । तर, यसको सुनुवाइ भएको छैन । ‘उद्योगलाई विद्युत् शुल्क महँगो हुँदा हाम्रो उत्पादनको लागत बढेको छ,’ उनले भने, ‘केही उद्योगलाई ट्रंक र डेडिकेटेड लाइनबाट विद्युत् लिएको भन्दै महँगो शुल्ककोे बिल आउँछ । त्यही विद्युत् केही उद्योगले भने सामान्य शुल्कमै पाइरहेका छन् ।’ विद्युत् महसुल निर्धारण आयोगले ६६ केभी र ३३ प्रसारण लाइनबाट डेडिकेटेड लाइन लिने ग्राहकका लागि फरकफरक शुल्क तोकेको छ । ६६ केभी प्रसारण लाइनबाट डेडिकेटेड लाइन लिने ग्राहकले प्रतिकेभी प्रतिमहिना २ सय ६५ रुपैयाँ तिर्नुपर्छ । याबाहेक प्रतियुनिट शुल्क फरकफरक समयका लागि फरकफरक दर तोकिएको छ । बेलुकी ५ बजेदेखि ११ बजेसम्म प्रतियुनिट १५ रुपैयाँ ५० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म प्रतियुनिट ६ रुपैयाँ ६० पैसा र बिहान ५ देखि ९ बजेसम्म प्रतियुनिट १२ रुपैयाँ ५० पैसा तोकिएको छ । साधारण ग्राहकले ६६ केभी प्रसारण लाइनबाट विद्युत् लिँदा ५ देखि ११ बजेसम्म ९ रुपैयाँ ३० पैसा र राति ११ बजेदेखि बिहान ५ बजेसम्म ७ रुपैयाँ ५० पैसा तिर्नुपर्छ । साथै डिमान्ट शुल्कबापत प्रतिमहिना प्रतिकेभीए २४० रुपैयाँ मात्रै तिर्नुपर्छ । राज्यको नीतिका कारण उद्योगहरूबीच विभेद भएको उद्योगीको भनाइ छ । ‘एउटै बजारमा उद्योगलाई फरकफरक शुल्क लगाइएपछि कसरी प्रतिस्पर्धा हुन्छ ?’ उनले भने । ठूला उद्योगका लागि विद्युत् महत्त्वपूर्ण कच्चा पदार्थ भएको उनको तर्क छ । ‘कच्चा पदार्थ महँगो परेपछि लागत महँगो हुन्छ,’ उनी भन्छन्, ‘डेडिकेटेड र ट्रंक लाइनको नाममा लिइएको शुल्क तत्काल घटाउनुपर्छ ।’ कुनै उद्योगसँग महँगो शुल्क र कसैसँग साधारण शुल्क लिँदा बजारको प्रतिस्पर्धा बिग्रने मोरको तर्कमा सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाको पनि सहमति छ । ‘केही सिमेन्ट उद्योगले साधारण महसुल तिरेर २४ सै घण्टा विद्युत् पाइरहेका छन् । केही उद्योगले त्यही विद्युत् उपयोग गर्दा महँगो शुल्क तिर्नुपर्छ,’ उनले भने, ‘एउटै सामग्रीको मूल्य फरकफरक तिर्नुपरेपछि कसरी प्रतिस्पर्धा हुन्छ ?’ डेडिकेटेड र ट्रंक लाइनबापत सरकारले लिएको शुल्कले सिमेन्ट उद्योगलाई प्रतिबोरा ३०–३५ रुपैयाँ लागत बढेको उनको दाबी छ । डेडिकेटेड र ट्रंक लाइनको नाममा अहिले पनि अतिरिक्त शुल्क तिरिरहेका अन्य उद्योगको पनि यही अनुपातमा लागत बढी पर्न गइरहेको छ । ‘हामी भने नेपालमा उत्पादित सिमेन्ट कसरी विदेश निर्यात गर्ने भन्ने सोचमा छौं,’ उनी भन्छन्, ‘सरकारले विद्युत् महँगो बनाएर हतोत्साहित गर्दै छ ।’
सिमेन्ट उत्पादकहरूले विद्युत्को महँगो शुल्कको विरोध गर्ने विषयमा छलफल गरिरहेको थापाको भनाइ छ । ‘हामी प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने सोचमा पनि छौं,’ उनले भने, ‘अरूलाई पटकपटक भन्दा केही समाधान भएन, अब प्रधानमन्त्रीले हेरिदिनुको विकल्प छैन ।’ पुराना महसुलको विवाद पुनरावलोकन समितिले टुंग्याउने भए पनि डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् लिएबापत उद्योगसँग लिने गरिएको महसुल अब घट्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । ‘विद्युत् महसुल निर्धारण गर्ने अधिकार हामीलाई हुन्न, हामीले सिफारिस मात्रै गर्ने हो,’ घिसिङले भने, ‘विद्युत् नियमन आयोग गठन भइसकेकाले अब महसुल घट्ने गरी सिफारिस गर्छौं ।’ आयोगले आफूले गर्ने कामको निर्देशिका नबनाइसकेकाले यो अवधिमा प्राधिकरणले महसुलसम्बन्धी सिफारिस गर्न नसकेको उनले बताए । ‘अब चाँडै नै सञ्चालक समितिको बैठकबाट महसुलबारे निर्णय गरी आयोगमा पेस गर्छौं,’ उनले भने, ‘अब उद्योगलाई दिने विद्युत्को महसुल घट्छ ।’ ट्रंक र डेडिकेटेड लाइनबाट विद्युत् लिएका उद्योग र प्राधिकरणबीच महसुलको विषयमा विवाद जारी छ । केही वर्षदेखि डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् लिएका उद्योगले पनि सामान्य महसुल मात्रै तिरेको भेटिएपछि प्राधिकरणले माघयता छुट बिल भन्दै पुरानो महसुल उठाउन उद्योगलाई पत्राचार गरेको थियो । उद्योगीहरूले प्राधिकरणको महसुल विनियमावलीअनुसार आफूहरूले डेडिकेटेड र ट्रंक महसुल तिर्नु नपर्ने भन्दै अदालतमा रिट दायर गरेका थिए । प्राधिकरणको विद्युत् महसुल संकलन विनियमावली २०७३ ले दैनिक २० घण्टाभन्दा बढी विद्युत्को खपत गर्ने गरी ३३ केभी र ११ केभी लाइनबाट विद्युत् लिनेलाई डेडिकेटेड र ट्रंक भनी परिभाषित गरेको छ । यस्ता लाइन लिन चाहनेले प्राधिकरणमा निवेदन दिई सञ्चालक समितिबाट स्वीकृति गराउनुपर्ने प्रावधान छ । केही उद्योगीले भने आफूले दैनिक २० घण्टा विद्युत् उपयोग नगरेको र प्राधिकरणमा निवेदन नदिएको दाबी गर्दै आएका छन् ।
अर्थ वाणिज्य
जडीबुटी भारत निकासी हुने
- रूपा गहतराज
(नेपालगन्ज) - भारतको कानुनी अड्चनका कारण झन्डै एक वर्षदेखि रोकिएको जडीबुटी निकासी खुल्ने भएको छ । जडीबुटीबारे गत असोज पहिलो साता भारत सरकारले गरेको निर्णयपछि पुनः निकासी हुने भएको हो । भारतीय क्वारेन्टाइनसम्बन्धी आदेशा अनुसूचीमा फेरबदल भएको र त्यसका आधारमा अब नेपाली जडीबुटी निकासी हुने व्यवसायीले बताएका हुन् । जडीबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले भारत सरकारको निर्णयले रोकिएको जडीबुटी पुनः निकासी हुने सुनिश्चित भएको बताए । भारतले तय गरेको नयाँ सूचीमा कुन–कुन जडीबुटी छन् भन्ने जानकारी नआएको उनले सुनाए । ‘संघलाई सूची प्राप्त भएको छ, बाहिर भएकाले हेर्न पाएको छैन,’ उनले भने, ‘सूची जस्तो भए पनि जडीबुटी निकासी अब सुरु हुन्छ ।’ भारत सरकारले क्वारेन्टाइनसम्बन्धी नयाँ नीति लागू गरी जारी गरेको सूचीमा नेपालगन्जबाट निकासी हुने २६ वटा जडीबुटी परेका थिए । त्यसमा पनि कतिपय जडीबुटीको वैज्ञानिक नाम फरक परेका कारण भारत निकासी हुन सकेको थिएन । निकासी ठप्प भएपछि नेपाली व्यवसायीका गोदाममा रहेका जडीबुटी सड्ने र गुणस्तरहीन हुने अवस्थामा पुगेको जडीबुटी समस्या समाधान समितिका सदस्य टंकप्रसाद शर्माले बताए । नेपालबाट ८६ किसिमका जडीबुटी भारत निकासी हुने गरेको थियो । भारत सरकारको नीतिका कारण नेपालगन्ज नाकाबाट निकासी हुँदै आएका पाखनवेद, कुरिलो, आमला, पदमचाल, चिराइतो, मलवेद, अतिष, कालादाना र सिकाकाइलगायत जडीबुटीको निकासी गत मंसिरदेखि ठप्प थियो । ‘भारतीय क्वारेन्टाइनसम्बन्धी आदेश, २००३ अनुसार अनुसूची ७ मा सूचीकृत जडीबुटी मात्र निर्यात गर्न पाइन्छ,’ नेपाल जडीबुटी व्यवसायी संघका जडीबुटी समस्या समाधान समितिका सदस्य शर्माले भने, ‘नेपालबाट निकासी हुने अधिकांश जडीबुटी अनुसूची ७ मा सूचीकृत नभएको र भएका पनि वैज्ञानिक नाम फरक भएकाले निकासीमा समस्या भएको थियो ।’ अहिले भारतीय क्वारेन्टाइनले वैज्ञानिक नाम फरक परेकाको सूचीमा फेरबदल गरेको जानकारी पाएको शर्माले बताए । ‘निर्णय भए पनि नेपालबाट निकासीका लागि केही समय लाग्नेछ,’ उनले भने, ‘तत्काल निकासीको अवस्था छैन ।’ शर्माले भारत सरकारले गरेको पछिल्लो निर्णयअनुरूपको सूची रुपैडिहास्थित क्वारेन्टाइन कार्यालयमा पुगेपछि कार्यान्वयनमा आउने र त्यसका लागि केही समय लाग्न सक्ने बताए । नेपालगन्ज नाका हुँदै निकासी हुने सबै जडीबुटी भारत सरकारको नयाँ सूचीमा रहेको जडीबुटी व्यवसायी संघका पूर्वसल्लाहकार रवीन्द्रनाथ शुक्लले बताए । ‘टिमुर, रिठ्ठा, चिराइतो, पदमचाल, पखनवेदजस्ता जडीबुटी निकासीमा रहेको अवरोध अब हट्नेछ,’ उनले भने, ‘भारतीय क्वारेन्टाइनले त्यहाँको सरकारको निर्णयबमोजिम कडाइ गरेपछि गत मंसिरदेखि निकासी बन्द हुन पुगेको थियो ।’ भारत सरकारले जडीबुटी व्यवसायीको अनुरोधमा ६ महिना व्यवस्थापनका लागि समय दिए पनि नेपालतर्फबाट ठोस पहल हुन नसक्दा जडीबुटी निकासी रोकिन पुगेको तर्क व्यवसायीको छ । भारत सरकारले सन् २००३ मा जडीबुटीका सम्बन्धमा नयाँ ऐन ल्याएपछि नै नेपाल सरकारले जडीबुटी सूचीकृत गर्नका लागि प्रक्रिया पूरा गर्नुपर्थ्यो । ‘तर, १६ वर्षसम्म सरकारले बेवास्ता गरेको परिणाम अहिले व्यवसायीले भोग्नुपर्यो,’ संघका पूर्वसल्लाहकार शुक्लले भने । जडीबुटी निकासी बन्द भएपछि यसको असर राजस्व संकलनमा परेको छ । गत आर्थिक वर्षमा २७ लाख किलो मात्रै जडीबुटी निकासी भएको थियो । नेपालगन्ज नाकाबाट मात्रै भारततर्फ वार्षिक लाखौं किलो जडीबुटी निकासी हुने गरेको छ । तर, भारत सरकारले क्यारेन्टाइनसम्बन्धी आदेशमा कडाइ गरेपछि निकासी ठप्प हुँदा गत आवमा २७ लाख ५४ हजार २ सय किलो मात्र निकासी भएको छ । आव ०७०/०७१ को तथ्यांक अनुसार नेपालबाट वार्षिक ४५ लाख किलोभन्दा बढी जडीबुटी निकासी हुने गरेको देखिन्छ ।
अर्थ वाणिज्य
११ सय २१ महिला उद्यमीले पाए सहुलियतको कर्जा
सरकारले सात प्रकारका कर्जाका लागि ५ प्रतिशत ब्याज अनुदान दिँदै आएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौसम्म कुल १९ हजार ५ सय २८ ऋणीले ३६ अर्ब ८४ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण प्राप्त गरेका छन् ।
- यज्ञ बञ्जाडे
(काठमाडौं) - १ हजार १ सय २१ जना महिला उद्यमीले सहुलियत दरको उद्यमशील कर्जा पाएका छन् । गत भदौसम्ममा ७६ करोड ७६ लाख रुपैयाँ कर्जा प्राप्त गरेका हुन् । यो कर्जामा सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिन्छ । बैंक तथा वित्तीय संस्थाले तोकेको ब्याजदरमा महिलाले पाँच प्रतिशत घटाएर बाँकी ब्याज मात्र तिर्नुपर्छ । महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरेको हो । यो कार्यक्रमअन्तर्गत महिलाले १५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था छ । सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जासहित सात प्रकारका कर्जाका लागि ५ प्रतिशत ब्याज अनुदान दिँदै आएको छ । कृषि कर्जा पुरानै हो । व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा ब्याज अनुदान दिने कार्यक्रम ०७३ मै आएको हो । सरकारले उक्त कर्जालाई पनि एकै ठाउँमा समेटेर गत वर्ष सात वटा कर्जामा सहुलियत दिने एकीकृत कार्यक्रम बनाएको थियो । सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । त्यसको केही महिनापछि मात्र उक्त व्यवस्था कार्यान्वयनमा आएको हो । कृषिबाहेकका ६ वटा कर्जामध्ये सबैभन्दा बढी महिला उद्यमीका लागि प्रवाह भएको हो । गत असारसम्म ७ सय ९६ महिलाले उक्त कर्जा प्राप्त गरेका थिए । महिला उद्यमशील कर्जा अरूभन्दा धेरै प्रभावकारी देखिएको राष्ट्र बैंकको विश्लेषण छ । भदौसम्म १ हजार ५ सय ३५ जनाले ९२ करोड ५७ लाख रुपैयाँ मात्र कृषिबाहेकका क्षेत्रमा सहुलियत ऋण पाएका छन् । यसलाई अपेक्षाभन्दा धेरै कम रहेको राष्ट्र बैंकले जनाएको छ । अपेक्षाअनुसार ऋण प्रवाह नभएपछि कृषि, ऊर्जा र पर्यटनमा जस्तै सहुलियतपूर्ण कर्जामा पनि सीमा तोक्ने विषयमा राष्ट्र बैंकमा छलफल सुरु भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौसम्म कुल १९ हजार ५ सय २८ ऋणीले ३६ अर्ब ८४ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण प्राप्त गरेका छन् । सातवटै शीर्षकमा सबै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋण हो । जसमध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा मात्र १७ हजार ९ सय ९३ ऋणीले ३५ अर्ब ९१ करोड रुपैयाँ प्रवाह भएको छ । शिक्षित युवा स्वरोजगार कर्जा ३० ऋणीलाई १ करोड ५७ लाख, विदेशबाट फर्केका युवा परियोजनामा ६४ ऋणीलाई ४ करोड ५१ लाख, दलित समुदाय व्यवासाय विकासमा ९४ ऋणीलाई ५ करोड, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षामा ६५ ऋणीलाई १ करोड ५९ लाख र भूकम्पपीडितको निजी आवास निर्माणमा १ सय ६१ ऋणीलाई ३ करोड रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । ब्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षसम्मको छ । कर्जाको अवधि व्यवसायको प्रकृतिअनुसार बैंक तथा वित्तीय संस्थाले तोक्न सक्ने छुट पनि सरकारले दिएको छ । कार्यविधिअनुसार सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्नेछ । यस्तो कर्जामा कर्जाको ब्याजभन्दा बाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क लिन पाइँदैन । यसरी प्रवाह भएको कर्जाको अनिवार्य रूपमा बिमा (सुरक्षण) हुन्छ । कर्जाको सुरक्षणमा लाग्ने खर्च (शुल्क) मध्ये बैंकले २५ प्रतिशत र सरकारले ७५ प्रतिशत अनुदान दिन्छ । व्यावसायिक कर्जाको हकमा पनि सम्बन्धित उद्योग तथा व्यवसायको बिमा अनिवार्य रूपमा हुन्छ । यस्तो बिमामा पनि कुल प्रिमियम (बिमा शुल्क) को ७५ प्रतिशत सरकारले र २५ प्रतिशत मात्र सम्बन्धित व्यवसायीले भुक्तानी गर्नुपर्ने व्यवस्था छ । ब्याज अनुदानसम्बन्धी कर्जा सुविधा लिएका ऋणीले समयमै भुक्तानी गर्नुपर्नेछ । समयमै कर्जा भुक्तानी नगरेको अवस्थामा कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने, ऋणीको पासपोर्ट रोक्का, ऋणको नाममा रहेको चलअचल सम्पत्ति बित्रीमा बन्देज, बैंकमा खाता रोक्कालगायत सरकारी सुविधाबाट वञ्चित हुनेसम्म कारबाही हुने कार्यविधिमा उल्लेख छ ।
अर्थ वाणिज्य
१५ करोडको फूल कारोबार
- नुमा थाम्सुहाङ
(काठमाडौं) - यो वर्षको तिहारमा १५ करोड रुपैयाँको तयारी फूलको कारोबार भएको छ । गत सालभन्दा यो वर्ष फूलको माग र खपत बढेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले दिएको जानकारीअनुसार २९ लाख वटा तयारी माला बिक्री भएको छ । गत वर्ष २२ लाख बिक्री भएको फ्यानका महासचिव विश्वमणि पोखरेलले बताए । आफ्नो घाँटीका लागि मात्र नभई घर, अफिस, पसल सजाउनलाई पनि फूलको प्रयोग गरिने हुनाले फूलको माग बर्सेनि बढ्दो रहेको उनले सुनाए । ‘अघिल्लो वर्ष १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो वर्ष १३ करोड रुपैयाँ बराबरको २५ लाख फूलको माग हुने अनुमान गरेका थियौं,’ उनले भने, ‘तर, माग र कारोबार बढ्यो ।’ २ लाख २५ हजार वटा भारतीय माला आयात हुने अनुमान थियो । ‘शनिबारसम्म ७ लाख वटा माला आयात भएको थियो, जसमा डेढ लाख माला खेर गएको छ,’ उनले भने । शनिबार आउनुपर्ने माला शुक्रबार नै बजारमा आएकाले र भारतीय माला कोल्ड स्टोरजमा राखेर बिक्री गरिने हुनाले खेर गएको उनले बताए । नेपाली फूल उत्पादनका किसानहरूलाई संगठित गर्न सके नेपाली उत्पादनले नै फूलको बजार धान्ने उनको भनाइ छ । नेपालको २२ जिल्लामा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ । गोदावरी र मखमली काठमाडौं उपत्याकाभित्र उत्पादन हुन्छ । यो तिहारमा २० हजार गोदावरी र ७ लाख वटा मखमलीका माला बिक्री भएको छ । भारतीय फूलको मालाको मूल्य ६० रुपैयाँ रहे पनि ५०/४० रुपैयाँसम्म बिक्री गरिएको थियो । ‘नेपाली फूलको मालाको होलसेल मूल्य ४५ रुपैयाँ रहेकामा खुद्रा मूल्य ६० रुपैयाँ तोकेका थियौं । त्यसमा व्यापारीहरूले पनि त्यही दरमा बिक्री गरेका थिए,’ उनले भने । ‘नेपाली किसानहरू बजारमा घुल्न सकेका छैनन् । आफैंले सामान बजारमा ल्याएर बेच्छन्,’ उनले थपे, ‘जसले गर्दा खुद्रा व्यापारीले नेपाली फूल किनेर बेच्न खोज्दा फूल छैन भन्छन् । होलसेलमा भन्दा बाहिर खुद्रामा बेच्दा बढी फाइदा लिने लोभले पनि प्रभाव पारेको छ ।’
अर्थ वाणिज्य
विशाखापटनम् सर्दै आयातकर्ता
- शंकर आचार्य
भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम् बन्दरगाह परिसर । तस्बिर ः शंकर/कान्तिपुर
(पर्सा) - कोलकाता बन्दरगाहको अव्यवस्थाबाट आजित भएका नेपाली आयातकर्ताको रोजाइ विशाखापट्टनम् बन्दरगाह बन्न पुगेको छ । यसले आधा शताब्दीभन्दा लामो समयदेखि नेपालको तेस्रो मुलुकसँगको आयातनिर्यात व्यापारमा कोलकाताको बन्दरगाहको एकाधिकार पनि तोडिएको छ । ६ महिना यताको तथ्यांकले पनि कोलकातालाई विशाखापट्टनम् बन्दरगाहले उछिनी सकेको पुष्टि गर्छ । यस वर्षको अप्रिल महिनादेखि नेपालको तेस्रो मुलुकबाट आउने कार्गो कन्टेनरको संख्या कोलकाताभन्दा विशाखापट्टनम्बाट बढेको छ । कतिपय महिनामा कोलकाताभन्दा विशाखापट्टन हुँदै आउने कन्टेनरको संख्या दोब्बरभन्दा पनि बढी छ । सिर्सिया सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सको तथ्यांकअनुसार अप्रिल महिनामा कोलकाताबाट १९ र विशाखापट्टनमबाट २० कन्टेनरबाहक रेल्वे र्याक आएका थिए । मे महिनामा कोलकाताबाट १५ र विशाखापट्टनमबाट २५, जुनमा कोलकाताबाट १५ र विशाखापट्टनमबाट ३२ र्याक आएका थिए । जुलाई महिनामा कोलकाताबाट १८ र विशाखापट्टनमबाट ३७, अगस्टमा कोलकाताबाट १५ र विशाखापट्टनमबाट ४१ तथा सेप्टेम्बर महिनामा कोलकाताबाट २१ र विशाखापट्टनमबाट ३१ रेल्वे र्याक आएका छन् । अप्रिलअघिका महिनाहरूमा विशाखापट्टनम् भन्दा झन्डै दोब्बर बढी र्याक कोलकाताबाट आउने गरेका थिए । विशाखापट्टनम् बन्दरगाहले सिर्सिया सुक्खा बन्दरगाहका लागि २०१७ को जुन महिनादेखि मात्र सेवा दिन थालेको हो । नेपाली आयातकर्ताले लामो समयदेखि सबैभन्दा नजिकको भारतीय बन्दरगाह कोलकाता बन्दरगाहमा झेल्दै आएको समस्याको कारण विकल्पको खोजीमा थिए । वीरगन्जका उद्योगी हरि गौतम नेपाली आयातकर्ताको विशाखापट्टनम्प्रतिको बन्दरगाहको आकर्षण बढ्नुमा कोलकाता बन्दरगाहकै अव्यवस्था नै मुख्य कारण रहेको बताउँछन् । ‘हामी लामो समयदेखि कोलकाताको अव्यवस्थाबाट पीडित थियौं, हामीले जति पीडा पोख्दा पनि कोलकाता बन्दरगाह प्रशासनले हाम्रो बुझिदिएन,’ उनले भने, ‘विकल्प पाएपछि हामी विशाखापट्टनम्तर्फ आकर्षित हुनु गलत होइन ।’ कोलकाता जत्तिकै लागत पर्ने र कोलकातामा जस्तो कुनै पनि झन्झट विशाखापट्टनम्मा नहुने भएपछि नेपाली आयातकर्ताको रुझान विशाखापट्टनम्तर्फ हुन गएको भन्सार एजेन्ट श्यामबाबु पटेल बताउँछन् । कोलकाता बन्दरगाहको ढिलासुस्ती, त्यहाँका कस्टम हाउस एजेन्टको मनोमानी, सिपिङ लाइन कम्पनीको चर्को शुल्क र अव्यवस्थाले नेपाली आयातकर्ताहरू पीडित हुँदै आएकामा विशाखापट्टनम् एउटा दरिलो विकल्पका रूपमा उदाएपछि विशाखापट्टनम्तर्फ नेपालको व्यापार सरेको पटेलको बुझाइ छ । हिमालयन टर्मिनल्सका सूचना अधिकृत एवं अनिमेश कुमारले विशाखापट्टनम् बन्दरगाह कोलकाताको तुलनामा अत्याधुनिक र व्यवस्थित हुनुका साथै त्यहाबाट ईसीटीएस प्रणाली कोलकाताभन्दा अगाडि लागू हुनुले पनि विशाखापट्टनम्लाई लाभ मिल्न गएको बताउँछन् । कोलम्बो बन्दरगाहबाट विशाखापट्टनम् नजिक पर्नु र चीनबाट पनि यो बन्दरगाह नजिक पर्नुको फाइदा यसलाई हुन गएको उनको बुझाइ छ । समुद्रसँग जोडिएर २ लाख वर्गमिटरको क्षेत्रफल ओगटेको विशाखापट्टनम् बन्दरगाहमा जुनसुकै मुलुकबाट आएका मदर भेसल्स (ठूला पानीजहाज) सोझै आउन सक्छन् । यहाँ कन्टेनरलाई जहाजबाट झिकेर सोझै यार्डमा भण्डारण गर्न सकिन्छ । कोलकातामा निर्मित बन्दरगाह खोलामा तटमा हुनाले पानीको गहिराइ साढे ६ मिटर हाराहारी मात्र हुनाले ठूलाबाट साना पानीजहाजमा कन्टेनर सारेर ल्याउनुपर्छ । हिजोआज कोलकाता बन्दरगाहको जटिल भौगोलिक संरचनाका कारण श्रीलंका र सिंगापुरबाट मात्र जहाज आउन सक्छन् विशाखापट्टनम्मा सबै अन्तर्राष्ट्रिय बन्दरगाहबाट जहाज आउँछन् । प्रायः अन्तर्राष्ट्रिय बन्दरगाहहरू पनि विशाखापट्टनम्बाट नजिक छन् । यसले नेपाली आयातकर्ताले सिपिङ कम्पनीलाई दिने जहाज ढुवानी भाडा कम पर्न जान्छ । विशाखापट्टनम्बाट सिंगापुर बन्दरगाह १ हजार ५ सय ७३ नटिकल माइल टाढा छ भने मलेसियाको केलङ बन्दरगाह १ हजार ३ सय ८५ नटिकल माइल मात्र पर्छ । चेन्नई बन्दरगाहबाट सिंगापुर बन्दरगाहको दूरी १ हजार ५ सय ८६ नटिकल माइल र केलङ बन्दरगाह १ हजार ३ सय ९२ नटिकल माइल छ । कोलकाता बन्दरगाहबाट सिंगापुर बन्दरगाहको दूरी १ हजार ६ सय ५० नटिकल माइल र कोलकाताबाट केलङ बन्दरगाहको दूरी १ हजार ६ सय ५० नटिकल माइल छ । नेपाली आयातकर्ताले विशाखापट्टनम बन्दरगाह मार्फत मालबस्तु आयात गर्दा प्रतिकन्टेनर भारु १ लाख रुपैयाँ खर्च आउने र समुद्री मार्गको भाडा २ सयदेखि २५० अमेरिकी डलरसम्म बचत हुने दाबी विशाखापट्टनम् बन्दरगाह प्रशासनले गर्दै आएको छ ।
खेलकुद
पहिलो सोलुखुम्बु ट्रेल रेस सुरु
- कान्तिपुर संवाददाता
(ओखलढुंगा) - संसारकै लामो ट्रेल रेस भनेर दाबी गरिएको सोलुखुम्बु ट्रेल रेसको पहिलो संस्करण मंगलबार ओखलढुंगा र सोलुखुम्बुको सिमाना जन्तरधापबाट सुरु भएको छ । ३ सय १० किलोमिटर दूरीको ट्रेल रेस समुन्द्री सतहदेखि ३ हजार मिटर उचाइबाट सुरु भएर सगरमाथा आधारसिविर हुँदै फाप्लु आएर टुंगिने आयोजक संस्थाले जनाएको छ । खेलाडी मंगलबार बिहान ९ बजे धापबाट अघि बढेका छन् । रेसको औपचारिक उद्घाटन सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले गरे । आयोजक संस्था ‘दी स्मल वर्ल्ड’ का अध्यक्ष कर्मा शेर्पाका अनुसार सोलुखुम्बुको तल्लो भेगबाट सुरु भएर आधारसिविर पुगेर सदरमुकाम आइपुग्दै रेस सकिनेछ । धावकहरू ४ हजार ६ सय अग्लो पिके पिक, ३ हजार ५ सय मिटर अग्लो लामाजुरा पास गर्दै पर्यटकीय गाउॅ जुनबेंसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको पवित्र ताल दूधकुण्ड हुॅदै दौडने रुट छ । प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारी हिडेको ऐतिहासिक पदमार्ग पछ्याउॅदै धावकहरू दौडिने आयोजक संस्थाका अध्यक्ष शेर्पाले बताए । रेसमा विदेशी ६५ जना र नेपालका १५ जना सहभागी छन् । रेसमा सहभागी अधिकांश धावक फ्रान्सबाट आएका छन् । बेल्जियम, स्विट्जरल्यान्डलयागतका युरोपेली देशका धावक सहभागी छन् । यस वर्षको रेसमा चर्चित विन्टर एथलेक्टिस दावा दाछिरी शेर्पा सहभागी भएका छन् । शेर्पाले विन्टर ओलम्पिकमा नेपालको नेतृत्व गरिसकेका छन् । पाँच पटकसम्म अन्तर्राष्ट्रियस्तरको दौडमा विजेता बनेका दाछिरी सोलुखुम्बुका हुन् । दौड पूरा गर्न १५ दिन लाग्नेछ । रेसमा ५ हजार ४ सय मिटर अग्लो सगरमाथा क्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली, ५ हजार ३ सय ६४ मिटर उचाइमा रहेको सगरमाथा आधारसिविर पुग्नुपर्नेछ । फर्किने क्रममा गोरकसेप, लोबुचे, फेरिचे, तेङ्बोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लु आइपुग्ने छन् ।
एन्डी वेस्ट (म्याड्रिड) - एल क्लासिको रोकिएपछि बार्सिलोना र रियल म्याड्रिडले खेल्नै परेन । यसको प्रत्यक्ष फाइदा भयो ग्रेनेडालाई । ती दुई ठूला क्लबलाई उछिनेर यो टिम केही दिनका लागि भए पनि स्पेनी ला लिगाको शीर्षस्थानमा उक्लियो । यो क्लबले अहिलेसम्म यस्तो उचाइ छोएकै थिएन । त्यसमाथि यो भर्खर बढुवा खाएर माथि उक्लेको टिम हो । टीभी पण्डित टोनी पाडिला भन्दै थिए, ‘कसैले यस्तो अपेक्षा गरेको थिएन । स्पेनी फुटबलमा यत्तिको स्तब्धपूर्ण स्थितिबारै कसैले सोचेकै थिएन ।’ त्यसैले पनि ग्रेनेडलाई भन्न थालिएको छ, ‘नयाँ लेस्टर सिटी’ । प्रश्न जायज हुन्छ, कसरी ग्रेनेडाले यस्तो छलाङ मार्यो त ? ग्रेनेडाको पछिल्लोपल्ट ला लिगामा बिताएको सिजन बिर्सनलायक रह्यो । सन् २०१७ को मे महिनामा ग्रेनेडाले लिग सकिँदा कमाएको जम्माजम्मी अंक थियो २० । प्रशिक्षक थिए टोनी एडम्स । उनी त्यो सिजनको क्लबका चौथो प्रशिक्षक थिए । यी पूर्व आर्सनल कप्तानले निकै छोटो समयमात्र ग्रेनेडामा बिताए । तर उनले जति समय बिताए, त्यसक्रममा गहिरो छाप छाडे । उनले क्लबमा हुर्काएको एक प्रकारले त्यो फुटबल संस्कृतिले अहिले रंग देखाउन थालेको छ । अझ भन्दा हुन्छ, उनले नै ग्रेनेडामा अहिलेको सफलताको बिउ रोपे । स्पेनमा बसेर पत्रकारिता गरिरहेका ग्रेनेडा समर्थित पत्रकार हिथ चेस्टर भन्छन्, ‘त्यतिबेला ग्रेनेडामा एडम्सले चमत्कार गर्न सकेनन् र क्लब रेलिगेसनबाट जोगिएन । तर क्लब मालिक जोन जियाङलाई उनले केही ठोस सुझाव दिएर गए ।’ एडम्स ग्रेनेडामा छँदा क्लबका २८ खेलाडीमध्ये ५ मात्र स्पेनी थिए, अरू फरक २० देशका थिए । उनको जोड थियो, क्लबमा सकेसम्म स्पेनी खेलाडी राख्नुपर्छ । क्लबमा पदाधिकारीदेखि प्रशिक्षक र तिनका सहायकमा पनि स्पेनी नै हुँदा राम्रो । यी सुझावलाई जियाङले मनैदेखि लिए । त्यसैले भिल्लारियल र मोनाकोमा स्पोर्टिङ डाइरेक्टर भइसकेका एन्टोनियो कोर्डोनलाई खेलाडी स्थानान्तरणबारे हेर्ने जिम्मा दिइयो । फ्रान्क सान्चेजले पाए प्राविधिक निर्देशकको काम । यसरी इंग्लिस प्रशिक्षकको सल्लाहमा चिनियाँ क्लब मालिकले क्लबमा स्थानीय परिचय थप्ने काम गरे । यसले तुरुन्तै रंग देखाउन सुरु गर्यो । क्लबले दोस्रो डिभिजनमा उक्लेको पहिलो वर्ष दसौं स्थान हात पारेको थियो, जुन आफैंमा सन्तोषजनक थियो । लगत्तै सबैभन्दा ठूलो र निर्णायक निर्णय भयो, प्रशिक्षकमा डिएगो मार्टिनेजलाई ल्याउने । उनी युवा प्रशिक्षक त थिए नै, उत्तिकै प्रभावशाली पनि । उनलाई गज्जब प्रशिक्षकभन्दा हुन्छ । सन् २०१८ को गर्मीमा मार्टिनेजलाई प्रशिक्षक नियुक्त गर्दा त्यसमा प्रश्न उठाउने पनि थिए । आखिरमा यी प्रशिक्षक भर्खर ३७ वर्षका थिए । लगभग उनी अपरिचित थिए स्पेनी फुटबलमा । खेलाडीको रूपमा उनले केही गर्न सकेका थिएनन् । प्रशिक्षक भएयता सानोतिनो काम मात्र गरेका थिए । सबैभन्दा उल्लेखनीय जिम्मेवारी थियो, सेभियाको युवा टिम हेर्ने । उनले दोस्रो डिभिजनमा छँदा ओसासुना हेर्ने काम गरे, जुन त्यतिबेलासम्म सबैभन्दा ठूलो अवसर थियो मार्टिनेजको । उनको सबैभन्दा ठूलो विशेषता के हो त ? तिनै पत्रकार चेस्टरको विश्लेषण छ, यी प्रशिक्षक स–सानो तथ्यमा पनि खुबै ध्यान दिन्छन् । खेलाडीसँग निकै नजिकको सम्बन्ध हुनुपर्नेमा जोड दिन्छन् । उनको नीति नै छ, सबै खेलाडी बराबर छन्, कोही विशेष भन्ने हुन्न । एक्लो खेलाडीको प्रशंसा ग्रेनेडामा बिरलै हुन्छ आजकल । किनभने उनी टिमको सामूहिक प्रदर्शनमा मात्र विश्वास गर्छन् । त्यसैले सन् २०१८–२०१९ को सिजनमा टिमको प्रदर्शन जबरदस्त रह्यो । कुल ४२ खेलमा २८ गोल मात्र खायो र पुग्यो ला लिगामा । क्लब माथिल्लो डिभिजनमा त पुग्यो, तर लगभग सबैको अनुमान थियो, त्यो त्यही क्लब हुनेछ, जो रेलिगेसनमा पर्नेछ । तर ती सबै कति असत्य साबित भयो, अहिले प्रमाणित भएको छ । ग्रेनेडा पूरा लिगमै सबैभन्दा युवा खेलाडीले भरिएको टिम थियो । लिगको पहिलो खेलमा भिल्लारियललाई ४–४ को बराबरीमा रोक्यो । दोस्रो डिभिजनमा क्लबले जसरी खेलेको थियो, माथि पुग्दा पनि त्यसमा परिवर्तन गरिएन् । अहिलेसम्मको यात्रामा सबैभन्दा ठूलो सफलता त डिफेन्डिङ च्याम्पियन बार्सिलोनालाई २–० ले हराउनु नै रहेको छ । त्यसपछि टिम लगातार चार खेलमा विजयी रह्यो, आफ्नो घरेलु मैदानमा खेलेकामध्ये । जतिबेला टिमले खराब खेलिरहेको रियल बेटिसलाई हरायो, क्लब पुग्यो लिगको शीर्षस्थानमा । अहिलेसम्म क्लबका लागि सबैभन्दा सफल खेलाडी साबित भएका छन् विङ्गर अल्भारो भाडिलो । संयोगले उनले आफ्नो खेलजीवन सुरु गरेका थिए बेटिसबाटै । टिममा अहिले जति पनि खेलाडी छन्, त्यसमध्ये आधाले पहिलोपल्ट माथिल्लो डिभिजनमा खेलिरहेका छन् । भर्खरैको अन्तर्राष्ट्रिय ब्रेकमा तीन खेलाडीले आ–आफ्नो देशको प्रतिनिधित्व गरेर खेले, त्यसमा पहिलो नाइजेरियाका रामोन अजिज थिए । बाँकी दुई डारबिन माचिनस र यांगेल हेरेरा दुवैले भेनेजुएलाका लागि खेले । पछिल्लोपल्ट ग्रेनेडाले ला लिगामा छँदा धेरैथरि खेलाडी किने, तर लिग सकिँदा तिनलाई तलब पनि दिन सकेको थिएन । रमाइलो के भने यी सबै सफलताको कथा बुनिएको थियो । स्पेनबाट धेरै टाढा चीनमा । क्लबका मालिक जियाङको अनुहार केटाकेटीकै जस्तै छ । तर उनी हुन् होप समूहका मालिक । इटालीको पार्मा क्लबमा पनि उनको लगानी छ । चीनमै पनि उनी चोङछिङ लिफानका मालिक हुन् । अझ एनबीए टिम टिम्बरवोल्भ्समा पनि उनको सेयर छ । सन् २०१६ मा उनले क्लब किन्दा समर्थक खुबै आत्तिएका थिए, किनभने त्यही वर्ष टिमले खत्तम खेल्यो र रेलिगेसनमा पर्यो । लगत्तै उनले क्लब समर्थकका लागि ख्लुा पत्र लेखे । जसमा लेखिएको थियो, ‘ग्रेनेडा मैले लगानी गरेको पहिलो क्लब हो, त्यसैले यो क्लब मेरा लागि धेरै अर्थ राख्छ । म आएयता क्लबले राम्रो गर्न सकेन, तर मैले हारिनँ । टिम रेलिगेसनमा पर्नुको कारण मैले फुटबलबारे धेरै नबुझेर हुनसक्छ । यो त क्लबमा मेरो सुरुआत मात्र हो । हामीलाई धेरै अगाडि बढ्नु छ ।’ आजकल जियाङ भनेपछि क्लब समर्थक खुबै मरिहत्ते गर्छन् ।
खेलकुद
यू–१९ क्रिकेट टिम घोषणा
- कान्तिपुर संवाददाता
(काठमाडौं) - भारतमा हुने यू–१९ च्यालेन्जर्स सिरिज ट्वान्टी–२० क्रिकेटका लागि नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । टिमको कप्तानी ओपनर रित गौतमले गर्नेछन् । भारतका तीन र नेपालसहित चार टिमसम्मिलित प्रतियोगिता कात्तिक २५ देखि मंसिर १ सम्म हैदराबादमा आयोजना हुनेछ । नीलो, रातो र पहेँलो गरी ३ टिममा भारतका यू–१९ राष्ट्रिय क्रिकेटरहरू पनि खेल्नेछन् । नेपालले पहिलो खेल कात्तिक २५ गते भारत पहेँलोसँग जिमखाना मैदानमा खेल्नेछ । कात्तिक २७ मा भारत रातोसँग राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा र कात्तिक २९ मा भारत नीलोसँग खेल्नेछ । राउन्ड रोबिन प्रणालीमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल हुनेछ । तेस्रो र चौथो स्थानको टिमबीच तेस्रो स्थानलाई प्रतिस्पर्धा हुनेछ । १६ नियमित र ४ वैकल्पिक खेलाडीसहित १८ सदस्यीय नेपाली टिमका अधिकांश खेलाडी यू–१९ टिमबाट खेलिसकेका छन् । यसअघिका कप्तान रोहितकुमार पौडेल र सन्दीप जोरालाई टिममा समावेश गरिएको छैन । राष्ट्रिय खेलकुद परिषद (राखेप) का मुख्य प्रशिक्षक जगत टमाटा, यू–१९ प्रशिक्षक विनोद दास र छनोटकर्ता राजु खड्काले टिम छनोट गरेका हुन् । नेपाली टोली कात्तिक २३ गते हैदराबाद जाने कार्यक्रम छ । नेपाली टिम ः रित गौतम (कप्तान), लोकेशबहादुर बम, तृतराज दास, विशालविक्रम केसी, खड्कबहादुर बोहरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेककुमार यादव, सूर्य तामाङ, तिलकराज भन्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी, गौतम केसी । वैकल्पिकमा दीपक बोहरा, दुर्गेश गुप्ता, निशिलकुमार सिंह र सोनु मोक्तान छन् ।
खेलकुद
महिला कप्तानमा डोली
- कान्तिपुर संवाददाता
राष्ट्रिय टिमबाट खेलिसकेकी डोली भट्टको कप्तानीमा नेपाल यू–१९ महिला टोलीले चीनको सांघाईमा बीएन्डआर कप ट्वान्टी–२० क्रिकेटमा सहभागिता जनाउने भएको छ । प्रतियोगिता कात्तिक २५ देखि ३० सम्म आयोजना हुनेछ । प्रतियोगिताका लागि १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । १४ सदस्यीय अन्तिम टिम भने केही दिनमै घोषणा हुनेछ । राखेप मुख्य प्रशिक्षक जगत टमाटा, छनोट समिति सदस्य विनोद दास र प्रशिक्षक कलाम अलीले प्रारम्भिक टिमको घोषणा गरेका हुन् । प्रतियोगितामा नेपालले चीन, थाइल्यान्ड, म्यानमार, मलेसिया र साउदी अरेबियाको टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टिममा डोली भट्ट (कप्तान), कविता कुँवर, कृतिका मरासिनी, यशोदा विष्ट, रुबी पोदार, राजमती ऐरी, ईश्वरी विष्ट, लक्ष्मी साउद, खुसी डंगोल, हेलिसा लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शीला क्षेत्री, लक्षिता राजवंशी, गोमा आले, पेमाल्हामु शेर्पा, मनीषा मगर, सृष्टि पौडेल छन् ।
खेलकुद
नासा टोली सिंगापुरतर्फ
- कान्तिपुर संवाददाता
काठमाडौं (कास)– हन्ड्रेड युथ आवर फ्युचर कार्यक्रममा भाग लिन ७ खेलाडीसहित १० सदस्यीय नेपाली नासा टोली बिहीबार सिंगापुर जाने भएको छ । नोभेम्बर १–३ सम्म हुने कार्यक्रममा सहभागी हुने खेलाडीमा सरोजकुमार श्रेष्ठ, सोनी ठकुरी, सुष्मा नेपाल, सदीक्षा आचार्य, विजय पौडेल, अश्विन र सुवर्णसिंह विष्ट छन् । नासाका अध्यक्ष दशरथ रिसालको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा मञ्चन तिवारी र दिप्रस शाक्य छन् ।
खेलकुद
ढोडिया विजयी
- कान्तिपुर संवाददाता
सिमरा (कास)– बाराको उत्तरझिटकैयास्थित रंगशालामा बुधबार सुरु सहिद स्मृति ट्वान्टी–२० लिगमा बकुलहर र ढोडिया क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा बकुलहरले आयोजक उत्तरझिटकैया क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गर्दै उत्तरझिटकैयाले पूरा ओभरमा एक सय १७ रन बनाएको थियो । एक सय १८ रनको लक्ष्य पाएको बकुलहरले ३ विकेट १५ ओभरभित्र पूरा गरेको थियो । अर्को खेलमा ढोडियाले मझौलिया क्रिकेट क्लबलाई ८२ रनले पराजित गर्यो । टस हारेर ब्याटिङ गरेको ढोडियाले पूरा ओभरमा १ सय २७ रन बनाएको थियो । एक सय २८ रनको लक्ष्य पाएको मझौलियाले ४५ रनमै अलआउट भयो ।
खेलकुद
ज्ञानेन्द्र नयाँ कप्तान
- विनोद पाण्डे
(काठमाडौं) - ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टोलीका नयाँ कप्तान बनेका छन् । उनले लामो समयदेखि नेपाली क्रिकेट हाँकिरहेका पारस खड्काको स्थान लिएका हुन् । पारसले तीन साताअघि कप्तानी पदबाट राजीनामा दिएका थिए । पारसले दशक नेपाली टोलीको कप्तानी गर्दा ज्ञानेन्द्र अधिकांस समय उपकप्तानमा रहे । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सामाजिक सञ्जालबाट ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको जनाएको थियो । नेपाली राष्ट्रिय टोलीबाट सन् २००६ मा खेल्न थालेका ज्ञानेन्द्र २००९ मा उपकप्तान बनेका थिए । सोमबार नेपाल भ्रमणमा आएको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध ज्ञानेन्द्रको पूर्ण कप्तानीमा नेपालले पहिलोपल्ट खेल्नेछ । क्यानले दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । ज्ञानेन्द्र व्यक्तिगत कारण हालै सिंगापुरमा भएको त्रिकोणात्मक ट्वान्टी–२० शृंखला र ओमानमा भएको पाँच राष्ट्रसम्मिलित ट्वान्टी–२० शृंखलामा अनुपस्थित रहँदा नै दीपेन्द्रलाई पारसको कप्तानीमा उपकप्तान बनाइएको थियो । ज्ञानेन्द्रका अनुसार उनलाई एमसीसीसँग शृंखला, डिसेम्बर १ देखि १० सम्म काठमाडौं आयोजना हुने दक्षिण एसियाली खेलकुदसम्मका लागि कप्तानीको जिम्मेवारी दिइएको छ । यस बीचमा नेपालले बंगलादेश भ्रमणमा गएर पनि खेल्न सक्नेछ । ज्ञानेन्द्रले सन् २०१४ मै नेपालको कप्तानी गरेका थिए । न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा पारस घाइते भएपछि ज्ञानेन्द्रले यूएईसँगको पहिलो खेलमा नेपालको नेतृत्व गरेका थिए । पारस अस्वस्थ रहेको समयमा ज्ञानेन्द्रले केन्यासँग विश्व क्रिकेट लिग छनोटको दुई खेल र बंगलादेशमा भएको एसीसी इमर्जिङ कपमा नेपालको कप्तान गरेका थिए । कप्तानको पूर्ण जिम्मेवारी पाउनु गर्वको क्षण भएको ज्ञानेन्द्रले बताए । ‘जिम्मेवारी आएको छ, चुनौती पनि थपिएको छ । पूर्ण कप्तानी पाउनु र कामचलाउ जिम्मेवारीमा धेरै फरक पर्छ,’ उनले भने, ‘चुनौतीसँगै अवसर पनि छ, सजिलो त पक्कै छैन । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट कप्तानको छाप छोडिसकेको छ । पारसको कप्तानीको त्यो पहिचान पछ्याउन चुनौती नै छ । त्यो सँगै नेपाली क्रिकेटलाई अगाडि बढाउने अवसर हामीसामु आएको छ ।’ कामचलाउ कप्तानीको जिम्मेवारी दिँदा ज्ञानेन्द्रले केन्यासँगको एक खेलमा जिताउनुबाहेक खासै उल्लेखीय केही गर्न सकेका थिएनन् । पारसले राजीनामा दिएपछि मात्र आफ्नो मनमा पूर्ण कप्तानी लिने सोच आएको र त्योभन्दा अघि कहिल्यै कप्तानीबारे नसोचिएको ज्ञानेन्द्रले बताए ।
खेलकुद
नामिबियाको ऐतिहासिक फड्को
- एजेन्सी
दुबई – नामिबियाले पहिलो पटक विश्व ट्वान्टी–२० क्रिकेट खेल्ने भएको छ । मंगलबार राति दुबईमा भएको विश्व ट्वान्टी–२० छनोटको प्लेअफमा नामिबियाले ओमानलाई ५४ रनले पराजित गरी ट्वान्टी–२० विश्वकपमा पक्का गरेको हो । नामिबिया सन् २००३ मा एकदिवसीय विश्वकप खेल्न सफल भए पनि कहिल्यै ट्वान्टी–२० विश्वकपमा छनोट हुन सकेको थिएन । सन् २०१२, २०१३ र २०१५ मा मात्र गरेर नामिबिया पाँच पटक विश्व ट्वान्टी–२० छनोटको प्लेअफमै चिप्लिएको थियो । त्यसैले नामिबियालाई ‘अभाग्यशाली’ टोली भन्दै आएको थियो । दश दिनअघि नामिबियालाई पपुवा न्युगिनीले ८१ रनले पराजित गरेको थियो, जुन नामिबियाको लगातार दोस्रो हार थियो । त्यसपछि लगातार ५ खेल जितेर नामिबियाले ऐतिहासिक उपलब्धि हात पारेको हो । जेजे स्मिथले २५ बलमा ३ चौका र ५ छक्कासहित ५९ र क्रेग विलियम्सले ४१ बलमा २ चौका र ३ छक्का मदतले ४५ रन बनाएपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको नामिबियाले २० ओभरमा ७ विकेट गुमाई १ सय ६१ रन बनायो । जतिन्दर सिंहलाई दोस्रो बलमै गुमाएको ओमान १९.१ ओभरमा १ सय ७ रनमै अलआउट भयो । ओमान त्यही टोली हो, जसले चार वर्षअघि आयरल्यान्डमा नामिबियाले दिएको १ सय ४९ रनको लक्ष्य पूरा गर्दै पहिलो पटक ट्वान्टी–२० विश्वकप पुगेको थियो । नामिबिया यस खेल जित्दै सेमिफाइनलमा पुगेको छ र टोलीको भेट पपुवा न्युगिनी (पीएनजी) सँग हुनेछ । पीएनजी समूह ‘ए’ को विजेता बन्दै पहिलो पटक विश्वकपमा पुगेको हो । पीएनजीले ६ मध्ये पाँच खेल जितेर अस्ट्रेलियामा अर्को वर्ष हुने ट्वान्टी–२० विश्वकपमा खेल्ने निश्चित भएको हो ।
ट्वान्टी–२० विश्वकप क्रिकेटमा पहिलोपल्ट छनोट भएपछि नामिबियाका क्रिकेट खेलाडी । तस्बिर ः क्रिकइन्फो
ट्वान्टी–२० छनोटमा सहभागी १२ टोलीलाई दुई समूहमा राखिएको थियो । त्यसमा दुवै समूहको विजेता सोझै छनोट हुने प्रावधान थियो । समूह ‘बी’ को विजेता बनेर आयरल्यान्डले ट्वान्टी–२० विश्वकपको टिकट काटेको हो । समूह ‘ए’ को दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले प्लेअफमा यूएईलाई पराजित गरी ट्वान्टी–२० विश्वकपमा पुग्यो । दोस्रो प्लेअफको अवसर पनि सदुपयोग गर्न नसक्दा आयोजक यूएई ट्वान्टी–२० विश्वकपमा छनोट असफल भएको छ । ६ टोली ट्वान्टी–२० विश्वकपमा पुग्ने प्रावधान अनुसार स्कटल्यान्ड छनोट हुने पाँचौं टोली बन्यो । स्कटल्यान्डले पहिला ब्याटिङ गर्दै ६ विकेट गुमाई १ सय ९८ रन बनायो । जसमा जर्ज मुन्सीले ६५, रिची बेरिन्टोनले ४८ र कप्तान केयल कोएट्जरले ३४ रन जोडेका थिए । जवाफमा आएको यूएई १८.३ ओभरमा १ सय ८ रनमा अलआउट भयो । ओमान र हङकङबीचको खेलबाट ट्वान्टी–२० विश्वकपमा पुग्ने छैटौं टोलीको टुंगो लाग्नेछ । यी ६ टोलीले विश्व ट्वान्टी–२० को समूह चरणमा श्रीलंका र बंगलादेशसँग खेल्नेछ । यी आठ टोलीबाट शीर्ष दुई टोली दोस्रो चरणमा पुग्ने छन् ।
खेलकुद
नेपाल १४ वर्षपछि प्रथम श्रेणी खेल्दै
- कान्तिपुर संवाददाता
काठमाडौं (कास)– नेपालले १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेट खेल्ने भएको छ । नेपाल भ्रमणमा आउन लागेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध तीनदिवसीय खेल खेलेसँगै नेपालको घरेलु क्रिकेटमा प्रथम श्रेणीको क्रिकेट फर्किने छ । विश्व क्रिकेटको ऐतिहासिक पहिचान बोकेको एमसीसीले नेपाल भ्रमणमा विभिन्न खेल खेल्ने छ । त्यसमा कात्तिक २० देखि नेपालसँग तीनदिवसीय खेल खेल्नेछ । एमसीसीले जनाएअनुसार त्रिवि क्रिकेट मैदानमा हुने त्यस खेललाई प्रथम श्रेणीको मान्यता दिइएको छ । सन् २००५ मा यूएईसँग अन्तरमहादेशीय तीनदिवसीय खेल नेपालले पछिल्लो पटक घरेलु मैदानमा खेलेको प्रथम श्रेणीको खेल हो । त्यसयता अन्तरमहादेशीय कपका लागि छनोट नहुँदा नेपालले प्रथम श्रेणीको क्रिकेट खेलेको छैन । सोमपाल कामी यस १४ वर्षको दौरान प्रथम श्रेणी खेल्ने एक्लो नेपाली खेलाडी रहे । उनले श्रीलंकामा क्लब क्रिकेट खेल्नेक्रममा सन् २०१५ को डिसेम्बर र २०१६ को जनवरीमा सारासेन्स स्पोर्टस क्लबबाट दुई प्रथम श्रेणीको क्रिकेट खेलेका थिए । नेपाल भ्रमणमा एमसीसीले बलियो टोली उतार्दै छ । पाकिस्तानबाट खेलिसकेका तीव्र गतिका बलर यासिर अराफात र इङ्ल्यान्डबाट टेस्ट खेलिसकेका टम वेस्ट्लीले एमसीसीको टोलीबाट नेपालविरुद्ध खेल्ने छन् । इंग्ल्यान्डबाट ५ टेस्ट खेलिसकेका वेस्ट्लीले हालैमात्र एसेक्सलाई तीन वर्षमा दोस्रो वर्ष काउन्टी च्याम्पियनसिपको उपाधि दिलाएका थिए । ह्याम्पसायरका पूर्व ब्याट्सम्यान जिम्मी एडम्सको कप्तानीमा रहने एमसीसीको १३ सदस्यीय टोलीमा डर्बीसायरका कप्तान बिली गोडलम्यान पनि छन् । एमसीसीले आइतबार नेपाल यू–१९ सँग खेलेर भ्रमणको सुरुआत गर्नेछ । कीर्तिपुरमा एमसीसीले सोमबार नेपालसँग ५० ओभरको र बुधबार देखि तीनदिवसीय खेल खेल्नेछ । कात्तिक २२ गते नेपालको मिश्रित टोलीसँग ट्वान्टी–२० खेल खेल्दै एमसीसीले काठमाडौं भ्रमणमा टुंगाउने छ । एमसीसीले त्यसपछि पोखरा भ्रमणमा पोखरा आमन्त्रण ११ सँग कात्तिक २५ र चिफ मिनिस्टर ११ सँग कात्तिक २६ मा पोखरा रंगशाला क्रिकेट मैदानमा खेल्ने छ । एमसीसीले २०१९ देखि २०२१ सम्म तीन पटक नेपाल भ्रमण गर्ने जनाएको छ । विकासशील मुलुकमा एमसीसीले यस्तो भ्रमण गर्न लागेको हो । गत वर्ष स्थापना भएको एमसीसी फाउन्डेसनले नेपाल भ्रमणमा आउने एमसीसी टोलीलाई सहयोग गर्नेछ । एमसीसीले पोखराको स्थानीय विद्यालयमा गएर क्रिकेट सामग्री प्रदान गर्नुका साथै प्रशिक्षण पनि दिने जनाइएको छ ।
खेलकुद
लयमा मेसी
- एएफपी
स्पेनिस ला लिगामा रियल भालाडोलिडविरुद्ध बल अघि बढाउँदै बार्सिलोनाका लियोनल मेसी । तस्बिर ः एपी
म्याड्रिड – लियोनल मेसीले आफू फिट हुँदै लयमा आएको संकेत गरेपछि बार्सिलोनाले मंगलबार राति स्पेनी ला लिगामा रियल भालाडोलिडमाथि ५–१ को प्रभावशाली जित निकालेको छ । मेसीले एक गोल उत्कृष्ट फ्रिकिक मदतमा गरेका थिए भने त्यसअघि आर्टुरो भिडालको गोलमा उत्तिकै राम्रो पास पनि निकाले । खेल सकिनु अगाडि मेसीले दोस्रो व्यक्तिगत गोल थपे । लुइस स्वारेजले गरेको अन्तिम गोलमा पनि मेसीको योगदान गज्जबको रह्यो । दुई गोल र दुई एसिस्ट निकाल्नेक्रममा मेसीले आफ्नो पुरानो खेलको झझल्को दिने गरी प्रदर्शन गरेका थिए । ‘मेसीको प्रदर्शनबारे धेरै बोल्नु ठीक छैन, उनको खेल आफैंमा कलात्मक छ । उनको खेल हेरेर खुसी हुनु र त्यसको तारिफ गर्नु मात्र ठीक हो,’ प्रशिक्षक अर्नेस्टो भाल्भेरडेले भने । यो जितपछि बार्सिलोना लिग तालिकाको शीर्षस्थानमा उक्लेको छ । मंगलबार रातिकै अर्को खेलमा अल्भेस र एट्लेटिको म्याड्रिड १–१ को बराबरीमा रोकिए । बार्सिलोनाको अहिलेको जितपछि क्लबले सबै खाले प्रतियोगितामा लगातार सातौं जित हात पारेको छ । भिल्लारियलविरुद्धको जितपछि क्लबले यो लय समातेको हो । त्यही खेलमा मेसी चोटमुक्त भएर पहिलोपल्ट सुरुदेखि खेलेका थिए । ‘मेसी अझै पनि पूर्ण फिट हुन सकेका छैनन्, तर एउटा तथ्य के निश्चित हो भने उनको खेल अझ राम्रो हुन थालेको छ,’ प्रशिक्षक भाल्भेरडेले भने । रियल म्याड्रिडविरुद्धको खेल रद्द भएपछि मेसीलाई तयार हुन अझ समय मिलेको थियो । इटाली मिलान– इन्टर मिलान मंगलबार राति इटालीको सिरी ए को शीर्षस्थानमा उक्लेको छ । यसका लागि इन्टरले ब्रेसियालाई २–१ ले हरायो । इन्टरका लागि लाउटारो मार्टिनेज र रोमेलु लुकाकुले गोल गरेका थिए । यस जितले एन्टोनियो कोन्टेको टिमलाई युभेन्ट्समाथि दुई अंकको अग्रता दिलाएको छ । ब्रेसियाका लागि मिलान स्क्रिनारले आत्मघाती गोल गरे । ब्रेसियाका मारियो बालोटेलीले सुदृढ प्रदर्शन गर्दै इन्टरलाई दबाबमा राख्ने प्रयास गरे । तर, उनले आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् । हारले ब्रेसिया रेलिगेसन क्षेत्रमा रह्यो । टोलीको ९ खेलबाट ७ अंकमात्र भएको छ । जितपछि भने कोन्टेले खुसी व्यक्ति गरे । उनले भने, ‘आजको जस्तो खेलमा तीन अंक स्वीकार्य हुन्छ । हाम्रो काम भनेको शीर्षस्थानका लागि युभेन्ट्सलाई लगातार दबाबमा राख्ने हो र हामी यसमा सफल रह्यौं ।’ मंगलबार रातिकै अर्को खेलमा भेरोनाले पार्मालाई उसकै घरमा १–० ले पराजित गर्यो ।
इंग्ल्यान्ड लन्डन– डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले मंगलबार राति लिग कपको क्वाटरफाइनल यात्रा तय गरेको छ । यसका लागि सिटीले साउथह्याम्पटनलाई ३–१ ले हरायो । लिगमा लेस्टरविरुद्ध बिर्सनलायक ठूलो अन्तरको हार बेहोरेको साउथह्याम्पटन सिटीविरुद्ध त्यस्तै हारबाट जोगिने प्रयासमा थियो । सिटीका लागि निकोलस ओटमेन्डीले पहिलो गोल गरे भने त्यसपछि सर्जियो अगुइरोले दुई गोल थपे । अन्य खेलमा प्रिमियर लिग क्लब एभरटनले वाटफोर्डलाई ३–१ र लेस्टर सिटीले बर्टन अल्बानियनलाई ३–१ ले हराए ।