You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

भेटघाट रोकेर आराम

- कान्तिपुर संवाददाता

(काठमाडौं) - मिर्गौलाको डायलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित भेटघाट रोकेर शुक्रबार आराम गरेका छन् । चिकित्सकहरूले धेरै आराम जरुरत रहेको भन्दै भेटघाट र बैठक नगर्न सुझाव दिएका थिए । ओलीले बालुवाटारस्थित निवासको माथिल्लो तलामै आराम गरे । प्रधानमन्त्री ओलीले शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई मात्र भेटे । अन्य भेटघाट र बालुवाटारमै यसअघि हुने खालका कार्यक्रम राखिएनन् ।
दाहालसँग दिउँसो केहीबेर आरामकक्षमै कुराकानी गरेका ओलीले ‘विस्तारै ठीक हुँदै छ, बाँकी विषयमा अलि निको भइसकेपछि कुरा गरौँला’ भनेको स्रोतले बताएको छ । ओलीले दाहाल र पोखरेलसँग पार्टीका केही विषयमा निर्णय गर्नुपर्ने भन्दै सचिवालयको बैठक बोलाउनेबारे परामर्श गरेका थिए । कुराकानीपछि उनले शनिबार बिहान १० बजेका लागि पार्टीको सचिवालय बैठक बोलाएका छन् ।

लामो समयदेखि पार्टी एकताका काम रोकिएका छन् । उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पनि बाँकी छ । दाहालले बिहीबार पनि ओलीसँग अस्पतालमा झन्डै एक घण्टा कुराकानी गरेका थिए । प्रधानमन्त्री आराममै रहेको र भेटघाट बन्द गरिएको प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । प्रधानमन्त्री बालुवाटारमा चिकित्सकहरूको निगरानीमै छन् । निजी चिकित्सक दिव्यासिंह शाहले प्रत्यक्ष निगरानी गरिरहेकी छन् । प्रधानमन्त्रीको उपचार पद्धतिबारे डा. शाहसहित डा. दिलीप शर्मा र डा. अरुण सायमीले छलफल गरेको उनको निजी सचिवालयका एक सदस्यले बताए । ‘उपचार पद्धति कस्तो अपनाउनेबारे छलफल भए पनि निष्कर्षमा पुगिएको छैन,’ डा. शर्माले भने ।


रिपोर्ट आउन बाँकी
प्रधानमन्त्री ओलीको रगतको एउटा रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएपछि कुन र कस्तो उपचार पद्धति अपनाउने भन्ने तय हुनेछ । ग्रान्डी अस्पतालले बिहीबार डिस्चार्ज गर्नुअघि सबै रिपोर्ट हेरेपछि थप उपचारको विधि तय हुने बताएको थियो । बुधबार प्रधानमन्त्री अस्पताल भर्ना हुँदा रगतमा क्रियाटिनिनको स्तर ५ भन्दा माथि थियो । उनको बुधबार २ घण्टा र बिहीबार ४ घण्टा डायलाइसिस गरिएको थियो ।
स्रोतका अनुसार अर्को डायलाइसिस आइतबार गर्ने तयारी भए पनि ओली शनिबारै डायलाइसिसका लागि ग्रान्डी अस्पताल जाने सम्भावना छ । चिकित्सकका अनुसार क्रियाटिनिनको स्तर बढ्दा डायलाइसिस गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीका लागि अब नियमित रूपमा मिर्गौलाको डायलाइसिस वा अर्को मिर्गौला प्रत्यारोपणको विकल्प छ । एकपटक प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छाडेकाले अब चिकित्सकहरूले नयाँ प्रत्यारोपणभन्दा नियमित डायलाइसिसको विकल्प प्रयोग गरिरहेका छन् ।

नियमित डायलाइसिस गर्न अस्पताल धाउनुपर्छ । त्यसैले उनका लागि बालुवाटारमै डायलाइसिस गर्ने व्यवस्था मिलाउने विकल्प पनि चर्चामा आएको छ । तर यो विकल्प प्रयोग गर्ने कि नगर्ने चिकित्सकहरू टुंगोमा पुगेका छैनन् । ‘प्रधानमन्त्रीलाई मिर्गौलाको मात्र समस्या भएको भए यो विकल्प प्रयोग गर्न सकिन्थ्यो,’ एक चिकित्सकले भने, ‘उमेरजन्य कारणले उहाँमा अरू प्रकारका समस्या पनि छन् । त्यसैले अरू केही समस्या देखिए तत्काल अस्पताल जानुपर्ने हुन्छ । धेरै प्रकारको प्रविधि बालुवाटारमै फिट गर्न सहज हुँदैन ।’ मिर्गौलाको समस्या भएका बिरामीलाई मुटु, फोक्सोलगायतका अंगमा पनि तत्कालै कुनै जटिलता देखिन सक्छ । त्यसैले डायलाइसिसका लागि मेसिन फिट गरेर मात्र ढुक्क बस्न नसकिने ती चिकित्सकले बताए ।

मुख्य पृष्ठ

बढ्यो निर्यात

गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा पछिल्लो तीन महिनाको तथ्यांकले व्यापारमा केही सकारात्मक संकेत देखाएको छ
- कृष्ण आचार्य

(काठमाडौं) - यस आर्थिक वर्षका तीन महिनामा व्यापार घाटा निरन्तर घटेको छ । अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापार घाटा घटेको हो ।
भन्सार विभागले प्रकाशन गरेको तीनमहिने व्यापार तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात १०.३४ प्रतिशतले घटेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ । व्यापार घाटा १२.०२ प्रतिशतले कम भएको छ । भारतसँग आयात घटेको र निर्यात बढेको छ । चीनसँग भने आयात बढेको र निर्यात घटेको छ ।
गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा तीन महिनाको तथ्यांकले व्यापारमा केही सकारात्मक संकेत देखाएको हो । तर, कम आयातले अर्थतन्त्रका केही क्षेत्रमा असर परेको छ । राजस्व संकलन लक्ष्यको तुलनामा करिब २२ प्रतिशत कम भएको छ ।
अर्थ मन्त्रालयका अनुसार तीन महिनामा २ खर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । ‘भन्सार राजस्व संकलन गत वर्षको तुलनामा ऋणात्मक छ,’ अर्थका एक अधिकारीले भने । गत वर्ष सुरुका तीन महिनामा भन्सारबाट ९९ अर्ब ९२ करोड ३५ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यस वर्ष तीन महिनामा ८९ अर्ब ९३ करोड १२ लाख १६ हजार रुपैयाँ मात्रै संकलन भएको छ, जुन १० प्रतिशतले कमी हो । ‘गत वर्षको तुलनामा समग्र राजस्वको वृद्धिदर मुस्किलले ३ प्रतिशत हाराहारी छ,’ अर्थका ती अधिकारीले भने । यही अनुपातमा राजस्व संकलन भइरहे सरकारलाई चालु खर्च धान्न मुस्किल पर्ने अनुमान गर्न थालिएको छ ।


‘आयात मात्रै घटेको हैन, निर्यात पनि बढिरहेको छ । यो अर्थतन्त्रका लागि सकारात्मक सन्देश हो,’ पूर्वअर्थ सचिव शान्तराज सुवेदीले भने, ‘आयात निरुत्साहन गर्ने नीति सरकारले ल्याएको समयमा अनौपचारिक अर्थतन्त्र थप मौलाउन सक्छ । त्यसकारण आयात घट्दा राजस्व संकलन कम भयो भनेर चिन्ता गर्ने हैन, राजस्व चुहावट र अनौपचारिक अर्थतन्त्र नियन्त्रणतर्फ सरकार लाग्नुपर्छ ।’
सुवेदीले आयात र निर्यातको अहिलेको अवस्थालाई दिगो बनाउनुपर्ने बताए । भन्सारमा आधारित अर्थतन्त्रलाई उद्योगमा आधारित बनाउने दिशातर्फ केन्द्रित हुँदा राजस्व संकलनमा संक्रमणकालीन अवस्था सिर्जना भएको सुवेदीको विश्लेषण छ । ‘हाम्रो समग्र उपभोग घटेको छैन । उपभोग नघटेकाले आन्तरिक राजस्व बढ्नुपर्ने थियो । बढेन,’ उनले भने, ‘त्यसको पछाडि चुहावट छ । त्यसलाई हेर्नुपर्छ ।’
गत वर्ष तीन महिनामा अघिल्लो वर्षको तुलनामा आयात ४४ प्रतिशतले बढेको थियो । निर्यात १६ प्रतिशत मात्रै थियो । जसले गर्दा व्यापार घाटा ४६ प्रतिशत पुगेको थियो । आयात वृद्धि अचाक्ली र निर्यात वृद्धि सुस्त भएकाले व्यापार घाटा, भुक्तानी सन्तुलन, शोधनान्तर घाटा, चालु खाता घाटा उच्च भयो ।

नयाँ सरकार गठनलगत्तै अर्थतन्त्रमा महत्त्वपूर्ण मानिने ती सूचक नकारात्मक भएपछि सरकार र त्यसमा पनि अर्थमन्त्री युवराज खतिवडा निकै आलोचित भए । सरकारले आयात निरुत्साहन गर्ने सम्भावित सामग्रीको पहिचान, निर्यात प्रवर्द्धन र व्यापार घाटा कम गर्ने उपाय खोज्न अध्ययन समिति बनाएको थियो । राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा गठित समितिले १ महिना लगाई आयात रोक लगाउने सामग्रीको सूची सिफारिस गरेको थियो । त्यस आधारमा मन्त्रिपरिषद्ले क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ, प्लास्टिकलगायत सामग्री आयातमा बन्देज लगाएको छ । अन्य केही सामग्री अत्यधिक आयात नहोस् भनेर भन्सार महसुल बढाइएको छ । सिमेन्ट तथा अन्य केही उत्पादनमूलक उद्योग आत्मनिर्भरको बाटोमा रहेकाले आयातितलाई निरुत्साहन गर्न भन्सार महसुल दर उच्च बनाइएको छ । यस पटकबाट पुस्तक आयातमा समेत १५ प्रतिशत भन्सार लगाइएको छ ।
सरकारले मासुका निम्ति खसीबोका तथा राँगालगायत पशुपक्षी आयातमा क्वारेन्टाइन ऐन लगाई गुणस्तरमा कडाइ गरेको छ । यो व्यवस्थाले सम्बन्धित मुलुकबाट पशु चौपाया आयात गर्दा निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित कागजपत्र चाहिन्छ । यो व्यवस्थाका कारण भदौसम्म एउटा पनि खसीबोका आयात भएको थिएन । दसैंका लागि करिब १० हजार खसीबोका मात्रै आयात भए ।
‘सरकारले नीतिगत हस्तक्षेपबाट आयात निरुत्साहन गर्न खोजेको देखिन्छ । खासगरी विलासिताका र कृषिजन्य सामग्री आयातमा निरुत्साहन गरेको छ,’ पूर्वसचिव सुवेदीले भने, ‘निर्यात प्रवर्द्धनका लागि अनुदान बढाएको छ । बढी अनुदानका कारण लागतका हिसाबले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सजिलो भएर निर्यात बढेको हो ।’


दिगो हुनेमा शंका
लगातार तीन महिना आयात कम र निर्यात वृद्धि भइरहे पनि यसलाई दिगो बनाउने चुनौती उत्तिकै छ । उद्योग खुल्ने, विकास निर्माणका कामले तीव्रता लिने र निर्यातजन्य सामग्रीमा सामान्य गिरावट आउनेबित्तिकै व्यापार घाटाले पहिलेकै रूप लिने सम्भावना छ । ‘अहिले आयात कम हुनुको अर्थ विकास निर्माणका काम र उद्योग विस्तार धेरै भइरहेको छैन भन्ने पनि हो,’ सुवेदीले भने, ‘यस पटक पनि मंसिरपछि नै विकास निर्माणका काम हुने सम्भावना देखिन्छ ।’ विकास निर्माणका काम र नयाँ उद्योग खुल्ने क्रममा तीव्रता आउँदा मेसिनरी तथा अन्य कच्चापदार्थ आयात गर्नुपर्ने भएकाले फेरि व्यापाधर घाटा बढ्न सक्ने सुवेदीले बताए । ‘तर उद्योगधन्दा विस्तार र विकास निर्माण गर्न आयात हुने सामग्रीले मुलुकको अर्थतन्त्रलाई असर गर्दैन । पुँजी निर्माण हुने हो,’ उनले भने, ‘व्यापार घाटा कम गर्नचाहिँ पेट्रोलियम पदार्थको आयात घटाउनुपर्छ । वैकल्पिक ऊर्जा प्रयोगलाई बढावा दिनुपर्छ । निर्यात बढाउने नीतिगत हस्तक्षेप कायम राखिरहनुपर्छ । मुलुकलाई औद्योगिकीकरणतर्फ लैजानुपर्‍यो ।’ नभए केही समय उत्साहित हुने र आयातमुखी अर्थतन्त्र कायमै रहने उनले बताए ।
नेपालका लागि प्रमुख दुई व्यापारिक मुलुक भारत र चीनतर्फको व्यापारमा यस पटक फरक तथ्यांक देखिएको छ । भारतबाट आयात कम हुँदै गएको देखिन्छ भने चीनबाट बढ्न थालेको छ । गत वर्ष अघिल्ला तीन महिनामा भारतबाट २ खर्ब ३६ अर्ब १२ करोड ३४ लाख १९ हजार रुपैयाँका सामग्री आयात भएका थिए । यस वर्ष भने घटेर २ खर्ब ७ अर्ब ४१ करोड २२ लाख ३५ हजार रुपैयाँका सामग्री मात्रै आयात गरिएका छन् । चीनबाट गत वर्ष ५३ अर्ब ११ करोड ५६ लाख ८५ हजार रुपैयाँको आयात भएकामा यस वर्षको तीन महिनामा ५९ अर्ब २६ करोड ८१ लाख ५५ हजार रुपैयाँका सामग्री भित्र्याइएका छन् । चीनतर्फको निर्यात भने घटेको छ । गत वर्ष ५६ करोड ४० लाख ९७ हजार रुपैयाँका नेपाली सामग्री निर्यात भएकामा यस पटक ४५ करोड १८ लाख ६४ हजारको मात्रै निर्यात भएको तथ्यांक छ । भारततर्फ भने निर्यात बढेको छ । गत वर्ष १३ अर्ब १६ करोड ४२ लाख १४ हजारका सामान निर्यात भएकामा यस वर्ष तीन महिनामा १७ अर्ब ८७ करोड ८ लाख ८१ हजार रुपैयाँका सामान निर्यात गरिएका छन् ।

मुख्य पृष्ठ

आलमसहित ११ प्रतिवादी

- शिव पुरी

(रौतहट) - पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुरमा भएको बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताब आलमसहित ११ जनालाई प्रतिवादी बनाई प्रहरीले शुक्रबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।
झन्डै तीन साताको अनुसन्धानपछि प्रहरीले तयार पारेको ७ सय पृष्ठको प्रतिवेदनमा प्रतिवादीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा मुद्दा चलाउन राय दिइएको छ ।
छठ पर्वको बिदा भएकाले सरकारी वकिलको कार्यालयले सोमबार मात्रै जिल्ला अदालतमा मुद्दा दायर गर्ने जनाएको छ । प्रहरीले महताब आलम, सेख भदई, मोबिन आलम, सेख सराजविरुद्ध पनि मुद्दा चलाउन लागेको हो । महताब सांसद आलमका भाइ हुन् । उनीहरूविरुद्ध पहिल्यै किटानी जाहेरी परेको थियो । अन्य ६ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । ११ जनाविरुद्ध अभियोगपत्र तयार पारे पनि आलम मात्र पक्राउ परेका छन् । विस्फोटमा घाइते भएका दुई नेपाली र एक भारतीयलाई जिउँदै इँटाभट्टामा हालेको बयान प्रत्यक्षदर्शीले दिएको प्रहरीले जनाएको छ ।

घटनाका घाइते, प्रत्यक्षदर्शीर्, विस्फोटमा क्षति पुगेको गोठ मर्मत गर्ने कामदार, पीडित परिवार लगायतसँग बयान लिई अनुसन्धानलाई पूर्णता दिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले बताए । ‘हामीले अनुसन्धान सकेर कसुरउपर ११ जनाविरुद्ध सजायको मागदाबीसहित प्रतिवेदन बुझाएका छौं,’ उनले भने, ‘घटनासँग सम्बन्धित व्यक्तिहरूले अनुसन्धानका क्रममा यथार्थ बताएका छन् । घटनामा संलग्न रहेको आरोप लागेका अन्य दस जना फरार छन् ।’
प्रहरीले विस्फोटमा घाइते सर्लाहीका सफी अहमदले भारतको मोतिहारीस्थित डा. प्रबेज र तबरेज आलमको क्लिनिकमा उपचार गरेको जनाएको छ । विस्फोटमा घाइते भएको भनी चिकित्सकले दिएको रिपोर्टसमेत प्रहरीले फेला पारेको छ । उपचारपछि आलमको डरले लुकेर बसेको अहमदले बताएका छन् ।
०६४ चैत २७ गते पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विस्फोट हुँदा हालको यमुनामाई गाउँपालिकास्थित सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर घाइते भएको र उनीहरूलाई जिउँदै इँटाभट्टामा हालेको आरोप आलममाथि छ । घटनामा एक भारतीयको समेत मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । मृतक भारतीयका परिवार उजुरी गर्न नआएको डीएसपी कार्कीले बताए ।
आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला प्रहरीले अनुसन्धानमा ठूलै सफलता हात पारेको दाबी गरेको छ । घटना भएका बेला स्थानीय प्रशासनको कमान्ड सम्हालेका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी र तत्कालीन सशस्त्रका एसपी रामकृष्ण लामा भने सम्पर्कमै नआएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीले बयानका लागि प्रहरी प्रधान कार्यालयलाई अनुरोधसहितको पत्र पठाए पनि उनीहरू सम्पर्कमा नआएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
सरकारी वकिलको कार्यालयका प्रमुख खडिन्द्रराज कटवालले प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको बताए । ‘११ जनालाई प्रतिवादी बनाइएको छ,’ उनले भने, ‘कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी कसुरमा सजाय मागदाबीसहित अदालतमा मिसिल पेस गर्छौं ।’

Page 2
समाचार

पौडेलले राखे प्याकेजमा सहमति प्रस्ताव

- कुलचन्द्र न्यौपाने

(काठमाडौं) - कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक विषयमा ‘टालटुले र टुक्रे’ समाधान नभई समष्टिगत सहमतिका लागि सभापति शेरबहादुर देउवासँग लिखित प्रस्ताव राखेका छन् । पार्टीको केन्द्रीय महाधिवेशनको तयारी, वर्षौंदेखि तदर्थवादमा चल्दै आएका भ्रातृसंगठन, शुभेच्छुक तथा जनसम्पर्क समितिका अधिवेशनलगायत पार्टीका संगठनात्मक संरचनासम्बन्धी निर्णय प्याकेजमै हुनुपर्ने उनको प्रस्ताव छ । केन्द्रीय महाधिवेशन सक्दो छिटो गर्नसमेत उनको आग्रह छ ।
‘पार्टीको संगठनमा विद्यमान समस्याबारे निष्कर्षमा पुग्नुपर्ने विषय’ भन्दै गत बुधबार देउवालाई उनकै निवास बूढानीलकण्ठमा बुझाएको पत्र पौडेलले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक गरेका छन् । देउवाले पार्टीका केन्द्रीय विभाग, नेविसंघलगायत म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशनका लागि तदर्थ समिति गठन गर्ने तयारी गरिरहेका बेला पौडेलले सबै विषयमा एकसाथ सहमति गर्न माग राख्दै देउवालाई लिखित प्रस्ताव बुझाएका हुन् । अवधि सकिएका भ्रातृ संस्थाको अधिवेशन ६ महिनाभित्र गर्ने सुनिश्चित हुनुपर्ने उनको माग छ । यसअघि केन्द्रीय कार्यसमिति बैठकले ६ महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको थियो ।
‘भ्रातृ संस्थाहरूको संरचनागत एकता निश्चित गर्न गठित समितिको प्रतिवेदनअनुसार परिमार्जन गरी भ्रातृ संस्थाको अधिवेशनको मिति तय गरी आवश्यक तयारी तत्काल सुरु गरिहाल्नुपर्ने’ पौडेलले प्रस्तावमा उल्लेख गरेका छन् । एक दर्जनभन्दा बढी भ्रातृ संस्थाहरू वर्षौंदेखि तदर्थवादमा चल्दै आएका छन् । नेविसंघ र तरुण दलसम्बन्धी निर्णय गर्दा एकै ढाँचा तयार गरी समझदारीका आधारमा गठन गर्ने र ६ महिनाभित्र अधिवेशन सम्पन्न हुनुपर्ने पौडेलको प्रस्ताव छ । नेविसंघ गठन गर्दा महाधिवेशनको तयारी समिति गठन गर्नुपर्ने उनको माग छ । नैनसिंह महर नेतृत्वको कार्यसमितिलाई हटाएपछि संघ ७ महिनादेखि नेतृत्वविहीन छ ।
संघमा कति सदस्य हुने, कसरी सहभागी गराउने, पदाधिकारी संख्या कति हुने, वर्तमान विधानअनुसार २२ जिल्लामा अधिवेशन भइसकेको अवस्थामा उमेर हदको प्रावधान के हुने जस्ता विषय समझदारीमा आधारमा मात्रै तय हुनुपर्ने पौडेलको जोड छ । ६ महिनाभित्र अधिवेशन हुनुपर्ने मिति अहिल्यै तय गर्नुपर्ने उनको प्रस्ताव छ ।
पार्टी केन्द्रीय कार्यसमितिले हालै संशोधन गरेको विधानमा संघको पदाधिकारी तथा सदस्य बन्न ३२ वर्षमुनिको हुनुपर्ने व्यवस्था छ । तर देउवा तत्काल उमेर हद नलगाउने पक्षमा छन् । संघभित्र ३२ वर्षे उमेर हद लागू हुनुपर्ने तीव्र दबाब छ । यही दबाब दिँदै शुक्रबार पार्टी कार्यालयमा विद्यार्थीले नाराबाजीसमेत गरेका छन् ।
पौडेलले केन्द्रीय महाधिवेशनको तयारी चाँडै अघि बढाउन नरहरि आचार्य संयोजकत्वमा १३औं महाधिवेशनका बेला गठित समितिले टुंगाएको क्रियाशील सदस्यताको नामावली सम्बन्धित सबै निर्वाचन क्षेत्रमा उपलब्ध गराउनुपर्ने माग गरेका छन् । स्थानीय तहमा केन्द्रीय कार्यसमितिले गरेको निर्णयअनुसार बाँकी जिल्लाको समायोजनको काम चाँडै सक्नुपर्ने, विदेशस्थित जनसम्पर्क समितिलाई अधिवेशनका लागि परिपत्र गरी क्रियाशील सदस्यता उपलब्ध गराउनुपर्ने, विधानअनुसार नयाँ प्रवेशी सदस्यको क्रियाशील सदस्यता वडाबाटै सिफारिस भएर आउनुपर्नेलगायत माग पौडेलले राखेका छन् ।

समाचार

मतदानस्थलमा प्रहरी र सशस्त्र, बाहिरी घेरामा सेना

- कान्तिपुर संवाददाता

(काठमाडौं) - मंसिर १४ मा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहअन्तर्गत विभिन्न पदको उपनिर्वाचनमा नेपाली सेनासहितको सुरक्षा व्यवस्था मिलाएर उपनिर्वाचन सुरक्षा कार्ययोजना बनेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने गरी उपनिर्वाचन सुरक्षा कार्ययोजना तय भएको गृह मन्त्रालयले जानकारी दिएको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा गठित उच्चस्तरीय उपनिर्वाचन सुरक्षा समिति बैठकले कार्ययोजनालाई अन्तिम रूप दिन लागेको हो ।
समितिमा सेनाका रथी, गृहसचिव, रक्षा सचिव, निर्वाचन आयोगका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र निर्वाचन आयोगका सहसचिव गरी ९ जना सदस्य छन् । कार्ययोजनालाई गृह मन्त्रालय र निर्वाचन आयोगको संयुक्त बैठकले पारित गरेपछि सुरक्षाकर्मीलाई आ–आफ्नो जिम्मेवारीसहित निर्वाचन हुने जिल्ला तथा स्थानीय तहसम्म परिचालन गरिने गृह मन्त्रालयका अधिकारीले जानकारी दिए ।
आयोगले आइतबार गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा चारवटै सुरक्षा निकायका उच्च अधिकारीसहितको बैठक बोलाएको छ । बैठकले कार्ययोजनामाथि छलफल गरेर अन्तिम रूप दिनेछ । निर्वाचनमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न ५३ पदका लागि दलहरूबीच प्रतिस्पर्धा हुँदै छ । ३७ जिल्लामा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका प्रमुख ३, उपाध्यक्ष १ र नगर तथा गाउँपालिकाका वडाध्यक्ष ४३ गरी ५३ पदमा प्रतिस्पर्धा हुने आयोगले जानकारी दिएको छ । यसका लागि ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्यायसेवा आयोगको परामर्शमा ११ जना न्यायसेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको आयोगको भनाइ छ ।
निर्वाचनमा चारवटै सुरक्षा निकायलाई जिम्मेवारी दिएर उपनिर्वाचन सुरक्षा कार्ययोजना लागू गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । निर्वाचन सुरक्षामा सेनाको नेतृत्वदायी भूमिका रहने गरी कार्ययोजना बनाउन लागिएको उनको भनाइ छ । सेनालाई बाहिरी घेराको सुरक्षा जिम्मा दिएर कार्ययोजना लागू गर्न लागिएको उनले बताए । ‘निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित बनाउन सबै किसिमका उपाय अवलम्बन गर्छौं,’ थपलियाले भने ।
उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाप्रति आफू सजग रहेको उनले बताए । उपनिर्वाचन सुरक्षा कार्ययोजनालाई अन्तिम रूप दिन लागिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको भनाइ छ । ‘निर्वाचन हुने जिल्लामा तय गरिएका निर्वाचन सुरक्षा रणनीतिलाई नै गृह मन्त्रालयले केही थपघट गरेर लागू गर्छ,’ उनले भने, ‘यस विषयमा मन्त्रालयमा छलफल भइरहेको छ, छिट्टै कार्ययोजना पारित गरेर कार्यान्वयनमा लगिनेछ ।’
केही दिनयता गृह मन्त्रालयमा सुरक्षा अधिकारीहरूबीच उपनिर्वाचन सुरक्षा योजनाबारे छलफल भइरहेको छ । उपनिर्वाचनमा म्यादी प्रहरी नभएका कारण सम्बन्धित जिल्ला र नपुगे अन्य जिल्लाबाट समेत निर्वाचन सुरक्षा प्रदान गर्न सेना, प्रहरी र सशस्त्रका जनशक्ति खटाउने गृहको तयारी छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेशसभातर्फ बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को ‘ख’, भक्तपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को ‘क’, दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ मा चुनाव हुँदै छ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदमा निर्वाचन हुँदै छ । निर्वाचन हुने ३७ जिल्लामध्ये तराई मधेसका मात्रै १५ जिल्ला छन् ।

उपनिर्वाचन २०७६

कहाँ कहाँ हुँदै छ ?
कास्की २ : प्रतिनिधिसभा सदस्य
बागलुङ २ (ख) : प्रदेशसभा सदस्य
दाङ ३ (ख) : प्रदेशसभा सदस्य
भक्तपुर १ (क) : प्रदेशसभा सदस्य
धरान उपमहानगर (सुनसरी) : मेयर
फाल्गुनन्द गाउँपालिका (पाँचथर) : अध्यक्ष
मकालु गाउँपालिका (संखुवासभा) : अध्यक्ष
पिपरा गाउँपालिका (महोत्तरी) : अध्यक्ष
खार्पुनाथ गाउँपालिका (हुम्ला) : उपाध्यक्ष
३७ जिल्लामा ४३ वडाध्यक्ष

समाचार

कांग्रेसमा उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न पदाधिकारीलाई जिम्मा दिने निर्णय गरेको छ । उम्मेदवार चयन गर्ने आधिकारिक निकाय संसदीय समिति नबनेकाले केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको हो ।
कांग्रेसमा सभापति शेरबहादुर देउवासहित ८ पदाधिकारी छन् । पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समावेश गरिने भएको छ ।
विधानविपरीत उम्मेदवार चयन गर्न लागिएको भन्दै प्रकाशमान सिंह, महेश आचार्य, गोपालमान श्रेष्ठ, बलबहादुर केसीलगायतले भने बैठकमै असन्तुष्टि जनाएका छन् । संसदीय समिति गठन गरेर मात्रै उम्मेदवार चयन गर्नुपर्ने उनीहरूको माग छ । बैठकमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाले भने मौन समर्थन जनाएका थिए ।


संसदीय समितिले उम्मेदवार चयन गर्ने र केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने व्यवस्था विधानमा छ । विधानविपरीत संख्या राखेर गठन भएको भन्दै पौडेल पक्षधरले विरोध जनाएपछि सभापति देउवाले १८ महिनाअघि संसदीय समिति विघटन गरेका थिए ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी संरचना निर्माण नगरी पदाधिकारीमा अधिकार केन्द्रित गर्ने परम्परा बसाल्दै लगिएकोमा असन्तुष्टि जनाए । ‘पदाधिकारीका नाममा विधानविपरीत जिम्मेवारी दिने काम स्वीकार्य होइन,’ उनले भने, ‘कांग्रेसको पदाधिकारी भनेको कम्युनिस्ट पार्टीमा हुने हेडक्वार्टरजस्तो संस्था होइन । पदको प्रयोग गर्ने थलो मात्रै हो ।’
कांग्रेसले आइतबारसम्म उम्मेदवार चयन गर्ने जनाएको छ । कास्की, बागलुङ, भक्तपुर र दाङका सम्बन्धित क्षेत्रीय समिति र जिल्ला कार्यसमितिबाट उम्मेदवारको लामो सूची केन्द्रमा आएको छ । बैठकले धरान उपमहानगरको मेयरमा तिलक राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


नेकपाद्वारा ३ जनाको नाम सिफारिस
नेकपा धरान उपमहानगर कमिटीले तीन जनाको नाम सिफारिस गरेको छ । नगर कमिटीको शुक्रबार बसेको बैठकले प्रकाश राई, फोक्वाहाङ सुब्बा (चोत्लुङ) र वेणु काफ्ले (खतिवडा) लाई सिफारिस गरेको हो । प्रमुख पदका लागि १० जनाभन्दा बढी आकांक्षी देखिएका थिए ।
सर्वसम्मत नाम सिफारिस गर्न दसैं र तिहारभरिको समयमा व्यापक प्रयत्न गरे पनि आकांक्षीहरूले अडान नछाडेपछि एक महिलासहित तीन जनाको नाम सिफारिस गरिएको उपमहानगर कमिटीका अध्यक्ष नारायण सुवेदीले बताए ।

समाचार

उपकुलपतिमा ७० भन्दा बढीको आवेदन

६ विश्वविद्यालयमा पदाधिकारीका लागि विभिन्न माध्यमबाट दर्ता भएका आवेदनको विवरण संकलन हुँदै
- सुदीप कैनी,कलेन्द्र सेजुवाल

(काठमाडौं/सुर्खेत) - ६ विश्वविद्यालयमा उपकुलपतिसहित पदाधिकारी नियुक्तिका लागि आवेदन दिने म्याद सकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक ७ मा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्यको आवेदन मागेको थियो । शुक्रबार म्याद सकिएलगत्तै उपकुलपतिको नाम सिफारिस समिति बैठकले आवेदन रुजु गर्ने निर्णय गरेको छ । विभिन्न माध्यमबाट आवेदन दर्ता भएकाले विवरण संकलन भइनसकेको मन्त्रालयको उच्चशिक्षा शाखाका सहसचिव रामशरण सापकोटाले जानकारी दिए ।
‘कतिपय आवेदन इमेलबाट आएका छन्, कतिपय मन्त्रालय, मन्त्री, सचिव र महाशाखाको सचिवालयमा दर्ता भएका छन्,’ उनले भने, ‘संकलन गरेर रुजु गर्दै छौं ।’ ६ विश्वविद्यालयमा ७० भन्दा बढीले उपकुलपति बन्न इच्छा देखाएको मन्त्रालयले जनाएको छ । एकै जनाले ६ वटै विश्वविद्यालयको उपकुलपति बन्न आवेदनसमेत दर्ता गराएको स्रोतले बतायो । सुरुमा उपकुलपति नियुक्तिको चर्चामा रहेका कतिपय व्यक्तिले आवेदन दिएका थिएनन् । शिक्षामन्त्रीको सचिवालय र मन्त्रालयका उच्च अधिकारीको आग्रहमा उनीहरूले समेत अन्तिम समयमा निवेदन दिएको स्रोतले जनाएको छ ।
आवेदन दिने म्याद सकिएकाले निवदेन संकलन सुरु भएको सिफारिस समितिकी सदस्य उषा झाले जानकारी दिइन् । ‘निवेदन संकलनसँगै योग्यताको परीक्षण गरेर अघि बढ्छौं,’ उनले भनिन् । सर्च कमिटीले आवेदकका कागजातमाथि अध्ययन गरेपछि उनीहरूको सूची सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ । उपकुलपति नियुक्ति गर्न सम्भावित उम्मेदवारको सूची तयार भएपछि तिनैमध्ये एकलाई नियुक्ति दिइने कमिटीले जनाएको छ । विश्वविद्यालयपिच्छे छुट्टाछुट्टै सूची तयार पार्ने तयारी गरिएको हो ।
मन्त्रालयले पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्यका लागि कात्तिक ७ गते आवेदन दिन आह्वान गरेको थियो । त्यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि पनि आवेदन माग गरिएको थियो । यी ३ विश्वविद्यालयका लागि इच्छुकले आवेदन दिने म्याद बिहीबार सकिएको हो । पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति हुन चाहनेका लागि मन्त्रालयले कात्तिक ९ मा सार्वजनिक सूचना जारी गरेर आवेदन दिन आह्वान गरेको थियो । यी विश्वविद्यालयका लागि आवेदन दिने सातदिने म्याद शुक्रबारबाट सकिएको सापकोटाले जानकारी दिए ।
उपकुलपति रिक्त ७ विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका लागि विश्वविद्यालय ऐनअनुसार सिफारिस समिति गठन गरिएको छ । उक्त समितिले त्रिभुवन विश्वविद्यालयका लागि ३ जनाको नाम सिफारिस गर्दै अन्य ६ विश्वविद्यालयका लागि रोस्टर तयार पार्न इच्छुकको आवेदन मागेको हो । शिक्षाविद्हरूले भने सर्च कमिटीले योग्य र सक्षम उम्मेदवार पहिचान गर्न नसकेर आवेदन मागिएको भन्दै असन्तुष्टि जनाएका छन् । योग्य र सक्षमले आवेदन नदिने उनीहरूको तर्क छ । मन्त्रालयले व्यक्तिगत विवरणसहित सम्बन्धित विश्वविद्यालय ऐनको परिधिभित्र रहेर आवेदन दिन आग्रह गरेको थियो ।
पोखरा, पूर्वाञ्चल, संस्कृत र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य उषा झाको अध्यक्षतामा सर्च कमिटी बनेको छ । सुदूरपश्चिम र मध्यपश्चिममा शिक्षा सचिव महेश दाहाल र अर्थ सचिव राजन खनाल सदस्य छन् । पोखरामा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदी र शिक्षा सचिव हाल सदस्य छन् । पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयको सिफारिस कमिटीमा झा र शिक्षा सचिव दाहाल सदस्य छन् । कृषि विश्वविद्यायको सर्च कमिटीमा दाहाल र अध्यक्ष सुवेदी सदस्य छन् ।


एमयूमा ॅपाहुना’ पदाधिकारी
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) स्थापना भएको ९ वर्ष बित्यो । यसबीच पूरा अवधिका लागि दुई उपकुलपति र दुई रजिस्ट्रार नियुक्त भए । चारै जनालाई सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट काजमा पठाएको थियो । संकायका डिनमा समेत ‘पाहुना’ पदाधिकारीकै बाहुल्य छ ।
‘हाम्रो विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी हुने योग्यता र क्षमता भएका प्राध्यापक नभएका होइनन्,’ मानविकी तथा सामाजिकशास्त्र संकायका डिन खोपीराम लम्साल भन्छन्, ‘किन हो कुन्नि, बाहिरबाट आउनेको बाहुल्य देखिन्छ ।’ मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐनमा उपकुलपति हुन स्पष्ट योग्यता तोकिएको छैन तर विद्यावारिधि गरेका प्राध्यापक उपकुलपति हुने परम्परा देखिन्छ । अहिले एमयूका चार प्राध्यापकमध्ये केशरसिंह राना र दीपबहादुर रावलले विद्यावारिधि गरेका छन् । ‘सुरुको चरणमा यहाँ योग्यता र अनुभव भएका जनशक्ति अभाव थियो,’ हाल विश्वविद्यालय सेवा आयोगका सदस्य रहेका राना भन्छन्, ‘अब त योग्यता र अनुभवले खारिएका जनशक्ति तयार भइसके, यस्तो अवस्थामा समेत ठग्न खोज्नु दुर्भाग्य हो ।’
एमयूमा हालसम्म निमित्तसमेत गर्दा चार उपकुलपति, तीन रजिस्ट्रार र १५ जना डिन गरी २२ जना पदाधिकारी नियुक्त भएका छन् । तीमध्ये पदाधिकारीमा अवसर पाउने एमयूका ६ जना मात्र छन् । २०७१ सालमा तत्कालीन उपकुलपति पदमलाल देवकोटा आर्थिक अनियमितता आरोपमा निलम्बनमा परेपछि एमयूका कालीप्रसाद पाण्डे निमित्त उपकुलपति भएका थिए । त्यसबाहेक त्रिविकै प्राध्यापकले उपकुलपति सम्हालिरहेका छन् । रजिस्ट्रारमा पनि तीनै जना त्रिविका छन् । ६ वटा संकायमा १५ व्यक्ति डिन नियुक्त भएका छन् । तीमध्ये एमयूका पाँच जना मात्र छन् । अहिलेका निमित्त उपकुलपति मस्तबहादुर गरंजा र निमित्त रजिस्ट्रार यामबहादुर कार्की त्रिविकै छन् । ६ संकायका डिनमध्ये मानविकीका लम्साल र इन्जिनियरिङका अनन्तराज घिमिरे मात्र एमयूका छन् ।
एमयूकै कतिपय प्राध्यापक भने फरक विश्वविद्यालयभन्दा पनि योग्यता, क्षमता र विश्वविद्यालयमा गरेको योगदानका आधारमा मूल्यांकन गरिनुपर्ने बताउँछन् ।

समाचार

हरेक प्रदेशमा परराष्ट्रका अधिकृत

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रदेशका मुख्यमन्त्री, मन्त्री र स्थानीय तहका पदाधिकारीले विदेशी अधिकारीसँग गर्ने भेटलाई समन्वय गर्न परराष्ट्र मन्त्रालयले हरेक प्रदेशमा एक/एक जना अधिकृत खटाउने भएको छ । यसअघि सहसचिवलाई नै प्रदेशमा खटाउने योजना बनाइए पनि अहिले परिमार्जन गरी अधिकृतस्तरको कर्मचारीलाई खटाउने निर्णय गरिएको हो ।
हरेक प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा स्थानीय तहका पदाधिकारीले आफूखुसी विदेशी निकाय र व्यक्तिहरूसँग भेटघाट गर्दै आएका छन् । त्यस्ता भेट केन्द्रको जानकारीबिना हुन थालेपछि कूटनीतिक मर्यादा कायम राख्नुपर्ने र केन्द्रमा सूचना दिनुपर्ने भन्दै संघीय सरकारले परराष्ट्र मन्त्रालयका अधिकृतलाई प्रदेशमा खटाउने निर्णय गरेको हो । उनीहरू मुख्यमन्त्रीको कार्यालयमा रहनेछन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज गौतमले गत वर्ष केन्द्रीय सरकारले गरेको संघीय संरचनाको संगठन र व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणअनुसार परराष्ट्र मन्त्रालयका अधिकृतलाई हरेक प्रदेशमा खटाउन लागिएको बताए । हरेक प्रदेशमा अधिकृत खटाउन लोकसेवा आयोगले दरबन्दीमा स्वीकृति दिइसकेको छ । प्रदेशमा जाने अधिकृतलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले तालिम दिएको छ । अब तीन महिना नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट तालिम लिनेछन् । तालिमपछि उनीहरू तोकिएको दरबन्दीमा खटिने प्रवक्ता गौतमले बताए ।
कूटनीतिक विज्ञ दिनेश भट्टराई परराष्ट्र वा कूटनीतिसम्बन्धी हरेक कुरा परराष्ट्र मन्त्रालयमार्फत मात्र गर्नुपर्ने बताउँछन् । ‘हामी संघीय संरचनामा छौं । संविधानले परराष्ट्र मामिला केन्द्रीय विषय हो भनेको छ । केन्द्रले सबैतिर ध्यान पुर्‍याउनुपर्छ,’ उनले भने । उनले आफूखुसी विदेशीसँग भेट गर्ने, सम्झौता गर्ने र फोटो खिच्ने प्रवृत्तिलाई रोक्नुपर्ने बताए ।

समाचार

सहमतिपछि मूर्ति विसर्जन

- कान्तिपुर संवाददाता

कपिलवस्तु (कास)– लक्ष्मीको मूर्ति विसर्जनका क्रममा बढेको विवादले अशान्त बनेको कृष्णनगरको जनजीवन स्थानीय प्रशासनसँग १० बुँदे सहमति भएपछि सहज बन्दै गएको छ । घटनामा मृत्यु भएका २२ वर्षे सुरज पाण्डेको शव बुझेर परिवारले शुक्रबार दाहसंस्कार गरेका छन् ।
प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडिया, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ता र प्रदर्शनकारीका प्रतिनिधिबीच छलफल भई बिहीबार राति २ बजे स्थानीय प्रशासनसँग १० बुँदे सहमति बनेको हो । सहमतिपछि राति नै लक्ष्मीका १३ वटा मूर्ति पनि विसर्जन गरिएका छन् । घटनाका मुख्य दोषीलाई कारबाही गर्ने, मृतकको परिवारलाई क्षतिपूर्ति दिनेलगायत विषयमा सहमति भएको कनौडियाले जानकारी दिए ।
तौलिहवा अस्पतालमा पोस्टमार्टम भएपछि शुक्रबार दिउँसो ३ बजे परिवारले शव बुझेको र साँझ साढे ५ बजे कृष्णनगर नजिक स्थानीय सुरई खोलामा दाहसंस्कार गरिएको प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए । स्थानीय प्रशासनले मृतकको काजकिरियाका लागि २५ हजार रुपैयाँ प्रदान गरेको छ । शुक्रबार प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले मृतकका हजुरबुबा ओमप्रकाश पाण्डेलाई राहत रकम प्रदान गरेका हुन् । कृष्णनगरको अवस्था सामान्य बन्दै गएकाले स्थिति हेरेर कर्फ्यु हटाइने प्रजिअ श्रेष्ठले बताए ।

Page 3
समाचार

मेडिकल विद्यार्थी आन्दोलित

शुल्क विवाद
भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले शुक्रबारबाट धर्ना सुरू गरेका छन् भने चितवन मेडिकल कलेजका विद्यार्थीले माग पूरा नभए पुनः आन्दोलन चर्काउने बताएका छन्
चितवनले गत वर्षको शुल्क मात्रै समायोजन गर्ने
- माधव ढुंगाना,रमेशकुमार पौडेल
भैरहवाको युनिभर्सल साइन्सेस अफ मेडिकल कलेजको मूल गेटअगाडि शुक्रबार धर्नामा बसेका विद्यार्थी ।तस्बिर ः कान्तिपुर

(भैरहवा/चितवन) - विद्यार्थीसँग लिने गरिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका ६ बुँदे माग राख्दै यहाँस्थित युनिभर्सल साइन्सेस अफ मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । माग सम्बोधन गर्नेतर्फ कलेज प्रशासनले चासो नदेखाएकाले आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका छन् । कलेज प्रशासनले भने विद्यार्थीले माग प्रक्रियागत ढंगले ल्याउन नमानेको र अन्य मेडिकल कलेजका विद्यार्थी जम्मा गरेर आन्दोलनमा उत्रिएको आरोप लगाएको छ ।
‘हामीले आफ्ना मागसहितको ज्ञापनपत्र प्रक्रियागत ढंगबाट बुझाउन खोज्दा कलेज प्र्रशासनले बेवास्ता गर्‍यो,’ आन्दोलनरत एक विद्यार्थीले भने, ‘प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएर आएका विद्यार्थीलाई कलेज प्रशासनले मूल गेट बन्द गरेर रातभर बाहिर बस्न बाध्य बनायो ।’ कलेजले ज्ञापनपत्र बुझ्न नमानेकाले प्रजिअलाई बुझाउनुपरेको ती विद्यार्थीले बताए ।
विद्यार्थीले माग पूरा नभए त्रिभुवन विश्वविद्यालयको बुधबारबाट सुरु हुने सम्पूर्ण परीक्षा र शैक्षिक कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् । उनीहरू शुक्रबारबाट कलेजको मूल गेटअगाडि धर्नामा बसेका छन् । शान्तिपूर्ण धर्नामा रहेकामाथि कलेज प्रशासनले दमन गरेको उनीहरूले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयले उपत्यकाबाहिरका मेडिकल कलेजका लागि तोकेको शुल्कभन्दा अतिरिक्त वार्षिक तीन लाखका दरले पाँच वर्षको १५ लाख रुपैयाँ लिँदै आएको र मन्त्रिपरिषद्ले खारेज गरिसके पनि कलेजले फिर्ता गर्न नमानेको आरोप विद्यार्थीको छ ।
परीक्षा शुल्कमा तोकिएभन्दा अतिरिक्त १० हजारसम्म बढी लिने गरिएको र अन्य शुल्क पनि निर्धारण गरिएको भन्दा तीन–चार गुणा बढी लिने गरिएकाले खारेज गरिनुपर्ने, सबै विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको मापदण्डबमोजिमको वार्षिक परीक्षामा समावेश गराइनुपर्ने, मापदण्ड नपुगेका विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिइनुपर्ने, इन्टर्नसिपमा रहेका विद्यार्थीको पारिश्रमिक वृद्धि गरिनुपर्ने र आन्दोलनलाई आधार बनाएर कलेज प्रशासनले कसैलाई कुनै किसिमको त्रास तथा मानसिक यातना दिन नपाइनेलगायत माग विद्यार्थीले राखेका छन् ।
कलेज प्रशासनले भने अतिरिक्त शुल्क समायोजन तथा फिर्ताको समस्या एउटा कलेजमा मात्रै नभएर मुलुकभरका मेडिकल कलेजको समस्या भएको र त्रिभुवन विश्वविद्यालय तथा सरकारले कायम गरेको मापदण्डलाई कार्यान्वयन गर्न तयार रहेको जनाएको छ ।
त्रिवि मातहतका चितवन र गण्डकी मेडिकल कलेजका बीडीएस र एमबीबीएस प्रथम वर्षका विद्यार्थीले परीक्षा दिन नपाउने भएपछि युनिभर्सलका विद्यार्थीलाई उक्साएर आन्दोलन गराएको दाबी कलेज प्रशासनको छ । कलेजका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पीएसले आन्दोलनरत विद्यार्थीलाई वार्तामा आउन र ज्ञापनपत्र बुझाउन प्रक्रियागत रूपमा बोलाउँदा विद्यार्थीले नमानेको दाबी गरे । बुधबारदेखि सुरु हुने परीक्षा कुनै हालतमा नरोक्ने जानकारी दिँदै उनले यसबारेमा त्रिभुवन विश्वविद्यालयले अवलम्बन गर्ने नीतिलाई कलेजले कार्यान्वयन गर्ने जनाए ।


सीएमसीले समायोजन गर्ने
चितवन मेडिकल कलेज (सीएमसी) ले स्नातक तह पहिलो वर्षका विद्यार्थीको गत वर्षको मात्रै शुल्क समायोजन गर्ने भएको छ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन चर्काएपछि कलेज प्रशासनले आगामी शैक्षिक सत्रमा समायोजन गर्ने जनाएको हो ।
सरकारले उपत्यकाबाहिरका मेडिकल कलेजले एमबीबीएसको शुल्क ४२ लाख ४५ हजार रुपैयाँ तोकेको छ । त्योभन्दा ६ लाख रुपैयाँ बढी लिएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिश न्यौपानेले स्वीकार गरेका छन् । ६ लाखमा अन्य शुल्कहरू कटाएर बाँकी रहने रकम मात्रै समायोजन गर्ने उनले बताए । ‘६ लाख रुपैयाँमा त्रिवि रजिस्ट्रेसन शुल्क पाँच सय, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क २५ सय, नेपाल मेडिकल काउन्सिल दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्क, इन्टर्नसिप शुल्क, आन्तरिक परीक्षा शुल्क, छात्राबास शुल्क र खाना शुल्क कटाइने छ,’ भरतपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उक्त शुल्कहरू कटाउँदा दुई लाख रुपैयाँजति बाँकी रहन्छ, त्यही समायोजन गर्ने हो ।’
शैक्षिक सत्र ०७५/७६ मा स्नातक तहमा भर्ना भएका विद्यार्थीको मात्रै शुल्क समायोजन गर्ने उनले प्रस्ट पारे । ‘अघिल्ला ब्याचहरूको टीयूले लेखेकै अनुसार शुल्क लिएको हुँदा फिर्ता वा समायोजनको कुरा आउँदैन, यो ब्याचमा लिन पाउने शीर्षकहरूको शुल्कको रकम कटाएर अरू रकम आउँदो सत्रको शुल्कमा समायोजन गर्छौं,’ उनले भने ।
आन्दोलनरत विद्यार्थी, अभिभावक र कलेज सञ्चालकबीच असोज ४ गते जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा बढी लिएको शुल्क कात्तिक १८ भित्र फिर्ता वा समायोजन गर्ने सहमति भएको थियो । चितवन जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा पहिलादेखिकै विद्यार्थीको शुल्क फिर्ता गर्ने कुरामा सहमति नभएको उनले बताए । समायोजनको विषय अहिले कलेजले एकतर्फी घोषणा गरेको हो । यसमा विद्यार्थीको पनि सहमति लिइने न्यौपानेको भनाइ छ । विद्यार्थीलाई कुनै तनाव नदिई पढाइ जारी राख्न आफूहरूले तदारुकता देखाएको उनले बताए ।
आन्दोलनरत विद्यार्थी भने कलेज प्रशासनको यो घोषणामा सहमत छैनन् । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले भने, ‘हामीले स्नातक तहका पहिलो र दोस्रो वर्षका विद्यार्थीबाट लिएको शुल्क समायोजन हुनुपर्ने, तेस्रो र चौथो वर्षका विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता हुनुपर्ने माग राखेका हौं । यो मागमा अडिग छौं ।’
वार्तापछि भएको सहमतिअनुसार शुल्क फिर्ता वा समायोजन गर्दा क–कसलाई कति गर्ने भनेर प्रतिवेदन दिन समिति गठन भएको थियो । समितिको प्रतिवेदन तयार भएकै छैन । त्यसैगरी सहमतिपश्चात् तत्काल पठनपाठन सुरु गर्ने भनिए पनि विद्यार्थीले पालना नगरेको र कात्तिक २० गते
हुने परीक्षाका लागि कात्तिक ८ भित्र फारम भर्नुपर्नेमा नभरेको आरोप डा. न्यौपानेले लगाए । संघर्ष समितिका संयोजक चन्दले विद्यार्थीको माग पूरा गर्न कलेज प्रशासनले आलटाल गरेकाले फेरि आन्दोलन चर्काउने बताए । अघिल्लो पटक झन्डै एक महिना विद्यार्थीले आन्दोलन गरेपछि असोज ४ गते वार्ता भएर सहमति भएको थियो । कलेज सञ्चालकले ६ लाख रुपैयाँसम्म बढी शुल्क लिएको स्वीकार गरे पनि विद्यार्थीले अघिल्ला वर्षहरूको समेत जोड्दा १२ देखि २० लाख रुपैयाँसम्म बढी शुल्क लिएको बताउँदै आएका छन् ।

समाचार

महराको बयान सकियो

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतसमक्ष आफूमाथिको अभियोग अस्वीकार गरेका छन् ।
जिल्ला अदालत काठमाडौंमा बयान क्रममा उनले आफू नयाँ बानेश्वर २६ (परिवर्तित नाम) को कोठामा नगएको र उनीमाथि बलात्कारको प्रयास नगरेको दाबी गरेका हुन् । जिल्ला अदालतका एक नम्बर न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा बयान दिँदै महराले आफू नयाँ बानेश्वर २६ को कोठानजिकै गएको स्विकारेको अदालत स्रोतले बतायो । कोठाबाहिर गए पनि उनले कोठाभित्र नपसेको र पीडितलाई पनि नभेटेको दाबी गरेका छन् । महरासँगको बयान शुक्रबार सकिएको छ ।
जिल्ला अदालत काठमाडौंका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारदेखि थुनछेक बहस सुरु हुने र त्यसपछि आदेश हुने बताए । थुनछेक आदेशले मुद्दाको किनारा नलागुन्जेल आरोपितलाई थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा आदेश दिनेछ । जाहेरीदेखि बयान र प्रमाणको विश्लेषण गरी इजलासले आदेश दिनेछ ।
३ वर्षभन्दा बढी कैद मागदाबी गरिएको मुद्दामा अदालतले पुर्पक्ष थुनामा राख्ने आदेश दिन सक्छ । तर आरोपितविरुद्धको प्रमाण गम्भीर नभएमा अदालतले धरौटी वा साधारण तारेखमा समेत छाड्ने आदेश दिन सक्छ । निरन्तर सुनुवाइको निवेदन परेकाले थुनछेक आदेशलगत्तै मुद्दाको सुनुवाइसमेत हुन सक्नेछ । बलात्कार प्रयासको संवेदनशील आरोप लागेकाले मुद्दामा पीडित र साक्षीको संरक्षणका लागि बन्द इजलासमा सुनुवाइ भइरहेको छ ।

समाचार

एसिड प्रहार गर्ने सात वर्षपछि पक्राउ

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– युवतीमाथि एसिड प्रहार गरी फरार भएका भारत महाराजगन्ज, अमरपूर्वन–६ का राज भन्ने दिलीपराज केशरीलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । प्रेम प्रस्ताव अस्वीकार गरेपछि २०७० वैशाख ९ गते हेटौंडा–२ की २० वर्षीया बिन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेका केशरीलाई प्रहरी प्रधान कार्यालयको टोलीले पक्रेर शुक्रबार हेटौंडामा सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार मकवानपुर र बाराबाट खटिएको प्रहरीको संयुक्त टोलीले बारास्थित जितपुर–सिमरा उपमहानगरपालिका–२३, भलोहीबाट बिहीबार राति ९ बजे उनलाई पक्राउ गरेको हो ।

Page 4
वाग्मती प्रदेश

पुरानो लयमा फर्कंदै चित्लाङ

- प्रताप विष्ट
पर्यटकीय गन्तव्य बनेको चित्लाङ । यहाँका कतिपय होमस्टे पर्यटक चापका कारण रिसोर्टमा परिणत हुँदै छन् । तस्बिर ः प्रताप/कान्तिपुर

(हेटौंडा) - त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वार थियो । तराई झर्ने हुन् वा राजधानी प्रवेश गर्ने, यही नाका भएर ओहोरदोहोर गर्थे । राजधानी प्रवेश गर्ने अधिकांश बटुवा र भरियाहरूको बास चित्लाङमै हुन्थ्यो । ‘बटुवाहरूको लर्को नै लाग्थ्यो,’ मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङका ८१ वर्षीय बाबुकाजी मानन्धर सम्झन्छन्, ‘त्यतिबेला एक पैसाको चामलले एक जनालाई मजासँग खान पुग्थ्यो ।’
मानन्धरको आफ्नै पसल पनि थियो । जो पहिला आयो, उसैलाई चुल्हो भाडा दिने गरेको उनी बताउँछन् । ‘चुल्हो, दाउरा, चामल र बास बसेको एक यात्रीसँग चार पैसा लिन्थेँ,’ उनी करिब पाँच दशकअघिको समयतिर फर्किए, ‘मेरो घरमा मात्र भात पकाउने ६० वटा चुल्हो थियो, लहरै सुत्नका निम्ति परालको सुकुल ओछ्याएको टहरो हुन्थ्यो । छरछिमेकहरूले पनि बटुवाहरूका लागि यस्तै व्यवस्था गरेका थिए । कैयौं बटुवा घरमा बस्ने ठाउँ नपाएर पाटीपौवामा पनि बस्थे ।’


चित्लाङमा बास बसेर बिहान सबेरै चन्द्रागिरि डाँडा उकालो लाग्दा कमिलाका ताँतीझैं देखिन्थे मान्छेहरू । पैदलयात्रुले भरिभराउ हुने चित्लाङ त्रिभुवन राजपथ निर्माणपछि सुनसान बस्तीको रूपमा परिणत हुन थाल्यो । भत्केका पाटीपौवा र पुराना घरहरूमात्र देखिने चित्लाङ अहिले भने पुरानै लयमा फर्किंदै छ । ‘पहिलाको भन्दा विकसित ढंगले चित्लाङ ‘कमब्याक’ भएको छ,’ चित्लाङवासी एवं पर्यटन बोर्डका अनुसन्धान र अन्वेषण निर्देशक मणिराज लामिछानेले भने, ‘विकासले ओझेलमा पारेको चित्लाङ पाँच दशकपछि विकासको नयाँ स्वरूपले बदलिएको छ ।’
केही वर्षयता मानिसहरू चित्लाङमा तानिन थालेका छन् । अब पहिलेजस्तो चुल्हो, दाउरा दिनुपर्दैन, यहाँ आउने पर्यटकहरू राम्रा होटल र होमस्टेहरूमा बस्न सक्छन् । ‘मान्छेहरू फेरि चित्लाङमा ओइरिन थाले,’ मानन्धर भन्छन्, ‘विगतको चित्लाङ बिलायो भनेको त झन् बौरिएर पो आयो ।’
पुराना पाटीपौवालाई मर्मतसम्भार गरिएको छ । अत्याधुनिक होटल स्थापना गर्न काठमाडौंका होटल सञ्चालकले जमिन खरिद गरेका छन् ।
थाहा नगरपालिकाको ९ र १० नम्वर वडामा विभाजित साबिकको चित्लाङ गाविसमा अहिले दैनिक आन्तरिक र बाह्य पर्यटकहरू टुट्दैनन् । ‘अधिकांश होमस्टे र रिसोर्ट भरिभराउ हुन्छ,’ गुर्जुधारा होमस्टेका सञ्चालक बुद्धरत्न मानन्धरले भने, ‘एक वर्षदेखि होमस्टे खाली भएको छैन ।’
होमस्टेमा धेरै मानिस खानबस्न आएकाले यहाँका केही होमस्टे सञ्चालकले रिसोर्ट नै स्थापना गरिसकेका छन् । होमस्टेहरू बिस्तारै सुविधायुक्त रिसोर्टमा बदलिँदै छन् । सुनसान भइसकेको गाउँमा यसरी पर्यटक आउलान् भनेर सायद बाबुकाजी मानन्धरले सोचेका थिएनन् । ‘मानिसको मात्र होइन, बस्तीको पनि दिन फिर्दो रहेछ,’ उनले हाँस्दै भने ।
केबलकार र सडक सुविधापछि चित्लाङको रूप बदलिएको स्थानीय निर्मल बलामीले सुनाए । उनका अनुसार आन्तरिक र बाह्य पर्यटकहरू आउन थालेपछि यहाँको जग्गाको मूल्य ह्वात्तै बढेको छ । ‘दुई वर्षअघिसम्म चित्लाङ बजार क्षेत्रमा धुरको एक लाख रुपैयाँमा जमिन खरिदबिक्री भइरहेको थियो । अहिले धुरको न्यूनतम पाँच लाखसम्म पर्छ,’ उनले भने । थानकोट–चन्द्रागिरि केबलकार सञ्चालनमा आएपछि जग्गाको भाउ बढेको उनले बताए । थानकोट–चित्लाङसम्मको सडक स्तरोन्नति सुरु भएपछि जग्गा भाउ नसोचेको ढंगले बढेको होमस्टे सञ्चालक राधाकृष्ण बस्नेत बताउँछन् । ‘जग्गाको भाउ त बढ्यो नै, पर्यटक पनि बढेका छन्,’ उनले भने, ‘शुक्रबार/शनिबार होमस्टे र रिसोर्टले धान्न नसक्ने गरी मानिसहरू आउँछन् ।’
सडकको स्तरोन्नति भएपछि यस क्षेत्रको महत्व अझ बढ्ने चित्लाङ रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले बताए ।
चन्द्रागिरिको काखमा रहेको चित्लाङमा अहिले आठवटा होमस्टे सञ्चालनमा छन् । तीनवटा निर्माणधीन छन् । सानाठूला गरेर १४ वटा होटल र लज चलिरहेका छन् । राजधानी नजिक भएकाले प्रत्येक साता एक हजारभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटक यहाँ आउने गरेका छन् । होमस्टे सञ्चालक समितिका अध्यक्ष बस्नेतले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका साथै प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्न पर्यटकहरू आउने क्रम बढेको बताए ।
थानकोटबाट १२ किलोमिटरको दुरीमा भएकाले अधिकांश पर्यटक यहाँ हिँडेर आउँछन् । चित्लाङ नजिकैको मानवनिर्मित इन्द्रसरोवरले पनि यहाँको आकर्षण थपेको हो । ‘बाख्राका दूधबाट चिज उत्पादन र जैतुन खेतीले पनि यस क्षेत्रको महत्वलाई अझ बढाएको छ,’ स्थानीय अशोकसिंह ठकुरीले भने ।
विभिन्न भाषाभाषीको आफ्नै वेशभूषा, बाजागाजा र संस्कृतिले भरिभराउ चित्लाङलाई पाँच वर्षअघि पर्यटन बोर्डले मुलुकको पहिलो पर्यटन गाउँको रूपमा घोषणा गरेको थियो ।

वाग्मती प्रदेश

रोजगारी गर्ने गाउँ फर्किए

- कान्तिपुर संवाददाता

अहिले चित्लाङमा वनविज्ञान क्याम्पसका लागि पाँच करोडको लागतमा भवन निर्माण भइरहेको छ भने नौ करोडको लागतमा सरकारले आईटीपार्क बनाउन लागेको छ । साढे चार करोडको लागतमा प्रदेश–३ सरकारले चन्द्रागिरिमा हिलस्टेसन निर्माण गर्न शिलान्यास गरिसकेको छ । चीनको सहयोगमा चित्लाङको ताकाटारस्थित साढे सात सय रोपनीमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माण हुँदै छ । पर्यटकीस्थल सँगसँगै शैक्षिक पूर्वाधारको निर्माण भइरहेकाले चित्लाङको आकर्षण बढेको हो । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको स्तरोन्नति भएपछि चित्लाङबाट बढीमा ३० मिनेटमा थानकोट पुग्न सकिन्छ । यो सुविधाले पनि काठमाडौंमा बसेर रोजगारी गर्नेहरू गाउँ फर्कन थालेका छन् ।

वाग्मती प्रदेश

आफ्नै फार्मेसी राख्दैनन् निजी अस्पताल

- कान्तिपुर संवाददाता

(काठमाडौं) - अस्पतालले ठेक्काको फार्मेसी हटाएर आफ्नै फार्मेसी राख्नुपर्ने नियम भए पनि यो व्यवहारमा लागू हुन सकेको छैन । फार्मेसी सेवा निर्देशिका २०७२ ले सरकारी, निजी र शिक्षण अस्पताल अनिवार्य रूपमा आफ्नै फार्मेसी खोल्नुपर्ने भने तापनि निजीले अटेरी गरिरहेका छन् । अधिकांश सरकारी र शिक्षण अस्पतालले भने आफ्नै फार्मेसी खोलिसकेका छन् । राजधानीमा नाम चलेका ओम, अल्का, ब्लुक्रसलगायत धेरै अस्पतालले आफ्नै फार्मेसी नखोली ठेक्काको फार्मेसीबाट औषधि बेचिरहेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालले भने आधा आफ्नो र आधा सञ्चालकको लगानीमा फार्मेसी चलाइरहेको छ । औषधि बेचिरहे पनि व्यवस्थापनमा कुनै कदम चालेको छैन ।
फार्मेसी खोलेर सरकारी, निजी र शिक्षण अस्पतालले फार्मेसी सञ्चालन समिति र औषधि अनुसन्धानका लागि ड्रग एन्ड थेराप्युटिक कमिटी (डीटीसी) बनाउनुपर्ने हुन्छ । फार्मेसी र औषधिको अनुगमन तथा मूल्याकंन गरी स्वास्थ्य मन्त्रालयको औषधि गुणस्तर निर्धारण शाखा या स्वास्थ्य सेवा विभागमा प्रतिवेदन बुझाउनुपर्ने नियम छ । निर्देशिका बनेको पाँच वर्ष बितिसक्दा पनि हालसम्म कुनै सरकारी या निजी अस्पतालले मन्त्रालयमा प्रतिवेदन बुझाएको रेकर्ड छैन । यतिसम्म कि मन्त्रालयलाई राजधानीका निजी अस्पतालको आफ्नै भए नभएको पत्तोसमेत छैन । निर्देशिकाअनुसार आफ्नै फार्मेसी खोलेर अस्पतालमा आउने कुल बिरामी संख्याको १० प्रतिशत गरिब बिरामीलाई निःशुल्क औषधि दिनुपर्ने भनिए पनि यो लागू छैन । आफ्नै फार्मेसी हुनुपर्ने नियम लागू गर्न गाह्रो भएकोअल्का अस्पतालका सञ्चालक कुमार थापाले स्विकारे । जनशक्ति व्यवस्थापनमा कठिनाइ भएकाले आफ्नै फार्मेसी चलाउन सम्भव नभएको उनको तर्क छ । ‘औषधिको चुहावट हुने जोखिम छ । औषधि बचाउनकै लागि हामीले थप जनशक्ति राख्नुपर्छ,’ उनले भने, ‘आफै फार्मेसी चलाउँदा व्यवस्थापन थप झन्झटिलो हुने भएपछि हामीले नराखेका हौं ।’
जनशक्ति र व्यवस्थापन गर्न अप्ठेरो भएकै कारण आफ्नो फार्मेसी नराखिएको चाबहिलस्थित ओम अस्पताल प्रशासनको जवाफ छ । एक वर्षभित्र आफ्नै फार्मेसी खोल्ने तयारी रहेको अस्पतालले जनायो । निजी अस्पतालले आफ्नै फार्मेसी चलाउन सम्भव छैन भने तापनि आफ्नै फार्मेसी चलाएका उदाहरण पनि छन् । धापासीको ग्रान्डी, हरिसिद्धिको नेपाल क्यान्सर अस्पतालले निर्देशिकाअनुसार नै फार्मेसी चलाएका छन् । ग्रान्डीले औषधिको गुणस्तरका लागि अध्ययन अनुसन्धान गर्ने गरिरहेको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले बताए । उनले भने, ‘हामीले फार्मेसीका लागि ड्रग एन्ड थेराप्युटिक कमिटी नै बनाएर औषधि व्यवस्थापन गरिरहेका छौं ।’ बिरामीलाई सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउनका लागि अस्पतालले आफ्नै फार्मेसी राख्नैपर्ने मन्त्रालयको गुणस्तर नियन्त्रण महाशाखा प्रमुख दीपेन्द्ररमण सिंहले बताए । उनले भने, ‘निजी अस्पतालको आफ्नै फार्मेसी भए/नभएको बारे हामीलाई पनि पूर्ण जानकारी छैन । फार्मेसी नराख्ने अस्पतालको अब नवीकरण गर्दैनौं ।’
बिरामीले गुणस्तरीय र सस्तो औषधि पाउन् भन्ने उद्देश्यले फार्मेसी निर्देशिका बनेको हो ।

वाग्मती प्रदेश

बलात्कार प्रयास आरोपमा नौ जनालाई मुद्दा

- कान्तिपुर संवाददाता

दोलखा (कास)– किशोरीलाई सामूहिक बलात्कार प्रयास गरेको आरोपमा बैतेश्वर गाउँपालिका काभ्रेका सात युवा पक्राउ परेका छन् ।
१४ वर्षीया किशोरीलाई कात्तिक ११ गते राति करिब ८ बजेको समयमा जबरजस्ती करणी गर्न खोजेको आरोप लागेका युवामाथि जिल्ला प्रहरी कार्यालयले बिहीबार मुद्दा दर्ता गरेको छ । पक्राउ परेकामा स्थानीय शालिकराम शिवाकोटी, गणेश शिवाकोटी, कृष्ण खड्का, सुकदेव घिमिरे, प्रदीप नेपाली, हरेराम रिमाल, सुरज कार्की छन् । प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार आरोपितमध्ये नरसिंह खत्री र अनुज बस्नेत फरार छन् ।
पीडित पक्षले १४ वर्षीया किशोरीलाई औषधि सुँघाएर लछारपछार पारेको, छातीमा घाउचोट बनाएको, कपडा च्यातिने गरी सामूहिक बलात्कार प्रयास गरेको आरोप लगाएका छन् । बालिकाले केही गन्ध आउने वस्तु मुख थुनेर सुँघाएपछि आफूलाई केही थाहा नभएको बयान दिएकी छन् ।
घरबाट एकजना साथीको साथमा मैनापोखरी बजारमा चाउचाउ किन्न गइरहेका बेला आक्रमण भएको उनले बताएकी छन् । युवाहरूबाट भागेर जोगिएकी उनकी साथी भने सकुशल छिन् । आक्रमणमा परेकी किशोरी दुई दिन चरिकोटस्थित सरकारी अस्पतालमा उपचार गराई घर फर्केकी छिन् । प्रनाउ राईले अर्धचेतको अवस्थाबाट उद्धार गरिएकी बालिका उपचारपछि सामान्य अवस्थामा आएको बताए ।

वाग्मती प्रदेश

११ वर्षपछि बन्यो पुल

- कान्तिपुर संवाददाता

रामेछाप (कास)– दुर्गम पश्चिमी रामेछाप पुलका कारण अब सुगम बनेको छ । काभ्रेसँग सीमा जोडिएको क्षेत्र राजधानीसँग नजिकिएपछि त्यस क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।
सुनकोसीको खैरेनीघाटमा पुल सञ्चालनमा आएपछि जिल्ला सदरमुकामभन्दा चाँडो काठमाडौं आवतजावत गर्न सकिने भएको हो । खैरेनीपुल हुँदै बीपी राजमार्गबाट जिल्ला सदरमुकाम जानसमेत सजिलो भएको छ । ११ वर्षअघि निर्माण थालिएको उक्त पुल सञ्चालनमा आएपछि पश्चिमी रामेछाप नजिकिएको हो । पुलबाट यातायातका साधन चल्न थालेपछि उक्त क्षेत्रका बासिन्दा हर्षित छन् ।
बीपी राजमार्गको दुम्जाबाट रामेछापको राकाथुम जोड्ने उक्त पुल नहुँदा यसअघि काठमाडौं जान स्थानीयलाई झन्डै ७ घण्टा घुम्नुपर्ने अवस्था थियो । बेथान, राकाथुम, खनियापानी, हिलेदेवी, दिमीजस्ता क्षेत्रका बासिन्दालाई सित्खाको पुल हुँदै घुम्नुपर्थ्यो । ‘अब ती दिन गए,’ सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा भन्छन्, ‘विगतमा दुर्गम कहलिएको गाल्वाभन्दा पश्चिमको रामेछापको ढोका खुलेको छ, अब हामी त्यस क्षेत्रका द्रुत विकास गर्न सक्षम भएका छौं ।’
बेथान क्षेत्रमा व्यापारिक सामग्री र निर्माण सामग्री अचाक्ली महँगो थियो । ‘घुमाउरो कच्ची बाटोबाट ल्याएको सामान त्यसै पनि महँगो हुने भइगयो, त्यसमाथि कुनबेला आउने र नआउने टुंगो हुँदैनथ्यो,’ स्थानीय प्रेमसागर थापा भन्छन् ।
डिभिजन सडक कार्यालय चरिकोटबाट ११ वर्षअघि टेन्डर भई काम थालिएको खैरेनीघाटको पुल निर्माण डिजाइन र निर्माण व्यवसायीको ढिलाइका कारण अधुरो थियो । केही वर्ष रोकिएको खैरेनीपुलले गत वर्ष स्टिलपार्टस् झरेपछि गति लिएको थियो ।

वाग्मती प्रदेश

नारायणी र राप्ती तटबन्ध निर्माण सुस्त

- रमेशकुमार पौडेल

(चितवन) - जिल्लालाई घेरेका दुई ठूला नदी नारायणी र राप्तीमा तटबन्ध गरेर बस्ती र खेतीयोग्य जमिन जोगाउने सरकारी योजना सुरु भएको दशक बिते पनि काम अधुरै छ । नारायणीमा चितवनतर्फ ३५ र नवलपुरतर्फ ६३ किलोमिटर तथा राप्तीमा १०५ किलोमिटर तटबन्ध गर्नुपर्नेछ । तर, अहिलेसम्म नारायणीमा चितवनतर्फ १४ र नवलपुरमा सुस्तासमेत गरेर ११.८ किलोमिटर तथा राप्तीमा २५ किलोमिटर मात्रै तटबन्धन भएको छ ।
आर्थिक वर्ष ०६६/६७ मा ‘जनताको तटबन्धन’ योजना सुरु भएको थियो । नदी तटबन्धनको काम सोही बेलादेखि सुरु भएको हो । अहिले आयोजनाको नाम फेरिएको छ । यो काम अहिले नारायणी नदी तटबन्धन परियोजना कार्यालयअन्तर्गत हुन्छ । तर नाम परिवर्तन भए पनि काम गर्ने शैली पुरानै छ । ‘नदी ठूलो छ, बजेट कम,’ नारायणी नदी तटबन्धन परियोजना कार्यालयका प्रमुख मेखनाथ शर्माले भने, ‘यो वर्षलाई चितवनतर्फको कामका लागि पाँच करोड रुपैयाँ बजेट आएको छ । जबकि तीन करोड रुपैयाँ पुरानो भुक्तानी बाँकी छ ।’ उनका अनुसार नारायणीमा चितवनतर्फ नारायणगढ पुलदेखि गोलाघाटसम्म पाँच मिटर फराकिलो तटबन्धन गर्दै लैजाने योजना छ । त्यसैगरी नवलपुरमा दाउन्ने नजिकको खण्डसम्म तटबन्ध हुनेछ । जनताको तटबन्ध आयोजना हुँदा यो काम सम्पन्न गर्न चितवनतर्फ तीन अर्ब ७९ करोड रुपैयाँ र नवलपरासीतर्फ ६ अर्ब ७२ करोड रुपैयाँ खर्च हुने तत्कालीन आँकलन थियो । तर, अहिलेसम्म भएको कामका लागि एक अर्ब ६१ करोड रुपैयाँमात्र खर्च भएको कार्यालय प्रमुख शर्माले जानकारी दिए । राप्ती नदीमा मकवानपुरको सामरी पुलदेखि चितवनको गोलाघाटसम्म तटबन्धन हुनेछ ।
राप्ती नदीमा अहिलेसम्म मकवानपुरमा ६ किलोमिटर तटबन्ध भएको छ । त्यसैगरी चितवनतर्फ पुरानो तटबन्धन १८ किलोमिटर छ । सौराहादेखि पश्चिममा एक किलोमिटर नयाँ तटबन्धन बनेको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १६ मा पर्ने मंगलपुर नारायणी नदी कटान र डुबानबाट प्रभावित क्षेत्र हो । बर्सातमा नदी उर्लंदा त्यो वडाका बासिन्दा त्रासमा हुन्छन् ।
‘बाढीको प्रभाव र त्रास ठूलो छ । तर नियन्त्रणका लागि भएको काम कछुवा गतिको छ । सायद बजेट कम भएर नै यस्तो भएको होला,’ भरतपुर–१६ का कार्यबाहक वडाध्यक्ष ओम रावतले भने ।

Page 5
उपत्यका

मानव साङ्लोले टुँडिखेल घेर्नेसम्मका कार्यक्रम

‘खुला स्थान संरक्षण गर्न जनता सचेत नभई हुँदैन, अब नागरिक नजागे हाम्रा सम्पदा एकपछि अर्को गर्दै मासिने भए’
- दामोदर न्यौपाने
टुँडिखेलभित्र बनाइएका भौतिक संरचना (माथि) र खुलामञ्चमा गरिएको अव्यवस्थित पार्किङ । तस्बिर ः केशव थापा/कान्तिुर

(काठमाडौं) - टुंडिखेलको दक्षिणतिरको बार पालले छोपेर भित्र हेर्न नमिल्ने बनाइएको छ । भित्र एकछेउ माटो थुपारेर अग्लो पहाडझैं बनाइएको छ । त्यहाँ झारपात उम्रिएर हरिया बनेका छन् । नजिकै घर तथा भवनका भग्नावशेष थुपारिएको छ । डोजरले ती भग्नावशेषलाई मिलाएर थुपार्ने काम गरिरहेका हुन्छन् । त्यसकै अर्का छेउमा धरहरा पुनर्निर्माणका लागि ल्याएका सामग्री थुपारिएका छन् । छेउमा केही टहरा छन्, नजिकै ठूलाठूला ट्रम, टिपरलगायतका मालबाहक सवारीसाधन ।
टुँडिखेल हेर्दै कुरूप देखिन्छ । यसको माथिल्लो भागमा पर्ने खुलामञ्चको अवस्था पनि अस्तव्यस्त छ । उत्तरतिरको क्षेत्र कालोपत्रे गरिएको छ । खुलामञ्चमै गाडीहरू पार्किङ गरिएका छन् । एक छेउमा टहरा ठडिएको छ ।
टुँडिखेल एकपछि अर्को गर्दै कब्जामा पर्न थालेपछि यसलाई जोगाउन ‘अकुपाई टुँडिखेल’ नाम दिएर नागरिक स्तरबाट दबाबमूलक अभियान थालिएको छ । अभियान सञ्चालन गर्न विजयलाल श्रेष्ठको संयोजकत्वमा जनस्तरीय समितिसमेत घोषणा भएको छ । टुँडिखेलबारे चेतना फैलाउने, छलफल चलाउनेदेखि मानव साङ्लोले टुँडिखेल घेर्नेसम्मका कार्यक्रम हुनेछन् ।
विश्व स्वतन्त्रता दिवसको अवसर पारेर आउँदो शनिबार बिहान ८ देखि १० बजेसम्म मानव साङ्लोले घेरेर अभियानको सुरुवात गर्ने सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले जानकारी दिए । ‘टुँडिखेलबाट सुरु गरेर देशभरिका खुला ठाउँ जोगाउन दबाब दिने अभियान हो,’ तुलाधर भन्छन्, ‘यो अभियानले सर्वसाधारणलाई खुला ठाउँको महत्त्व बुझाउनेछ भने सरकारलाई खुला ठाउँ जोगाउन दबाब सिर्जना हुनेछ ।’ पहिलो चरणको कार्यक्रम सकिएपछि नयाँ कार्यक्रम घोषणा गर्दै जाने उनले बताए ।
तुलाधरका अनुसार खुला ठाउँ जोगाउने महत्त्वाकांक्षी योजना भएकाले यो अभियान कहिलेसम्म चल्छ भन्न सकिन्न । ‘केही हप्तामा सकिन सक्छ, महिनौं लाग्न पनि सक्छ,’ उनी भन्छन्, ‘टुँडिखेललाई ‘काठमाडौंको फोक्सो’ नामकरण गर्दै यसलाई अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले अभियान घोषणा भएको हो । खुला स्थान संरक्षण गर्न जनता सचेत नभई हुँदैन । अब नागरिक नजागे हाम्रा सम्पदा एकपछि अर्को गर्दै मासिने भए ।’
चित्र/नाटकमार्फत्, फोटो प्रदर्शनी, झाँकी प्रदर्शनबाट समेत अभियानलाई प्रभावकारी बनाउने योजना छ । ‘यस्तो अभियानले जंगबहादुरको पालामा टुँडिखेल जस्तो थियो, त्यही अवस्थामा फर्काउन दबाब दिनेछ,’ तुलाधरले भने ।
कसरी मिचिए खुला ठाउँ ?
सम्पदाका जानकार काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधानका अनुसार टुँडिखेल कुनै बेला दक्षिण एसियाकै ठूलो खुला ठाउँको रूपमा चिनिन्थ्यो । समयक्रममा यसको खण्डीकरण हुँदै आयो । रानीपोखरीदेखि त्रिपुरेश्वरको दशरथ रंगशालासम्म विशाल क्षेत्र थियो टुँडिखेल । ०१३ सालमा दशरथ रंगशाला बनेको हो । ‘सहिदगेटमा बाटै थिएन,’ इतिहासकार साफल्य अमात्य सम्झन्छन्, ‘सानो गोरेटो थियो सिंहदरबारतिर जाने । भद्रकालीसम्म जान पाइन्थ्यो, त्यहाँबाट पर गए सेनाले फर्काइदिन्थ्यो ।’
बीसको दशकतिर बेलायती महारानी एलिजावेथ द्वितीय आउने भएपछि उनको भ्रमणलाई ध्यान दिएर बाटो खोलिएको प्रधान सम्झन्छन् । त्यही बेला सडक खोलिँदा बिस्तारै टुँडिखेल झन् टुक्रियो । ०२१ सालमा केही भागमा रत्नपार्क बनाइयो । रत्नपार्कसँगै सैनिक मञ्च बन्यो । त्यतिमा मात्र सीमित भएन नेपाली सेना । अहिले त प्यारापिट र तीनवटा भवन बनाइएको छ । सेनाले यस्ता संरचना बनाउँदा रक्षामन्त्री उनै प्रधान थिए । ‘जनताको खुला ठाउँमा सेनाले व्यापार गर्ने ठाउँ बनाउनु हुँदैन भनेको थिएँ,’ उनी भन्छन्, ‘मैले बनाउनु हुँदैन भन्दाभन्दै बनाउन थाले ।’
राजा महेन्द्रले यहाँका धेरै ऐतिहासिक स्थल मासिदिएको इतिहासकार अमात्य बताउँछन् । टुँडिखेलको मध्यभागमा खरीको बोट र चौतारो थियो । यही चौतारोमा बसेर राजालगायत विदेशी पाहुना टुँडिखेलमा हुने राष्ट्रिय पर्व, उत्सव हेर्थे । अहिले पनि प्रजातन्त्र दिवस, संविधान दिवस, बडादसैंको बडाइँ, कवाज, घोडेजात्राजस्ता सांस्कृतिक क्रियाकलाप हुने गर्छ । यी गतिविधि हेर्न सैनिक मञ्चमा अतिथिहरू बस्ने गरेका छन् ।
इन्द्रचोक, असन, भोटाहिटी, न्युरोडलगायत ‘कोर सिटी’ मा केही विपत्ति आइलाग्यो भने सबै भेला हुने खाली ठाउँ छैन । ससाना चोक भएकाले खुला ठाउँ खोज्न वसन्तपुर डबली या भूगोलपार्क पुग्नुपर्छ । ठूला घर भएकाले यी क्षेत्र पनि सुरक्षित लाग्दैनन् । ०७२ सालमा भूकम्प आउँदा टुँडिखेल धेरैको सहारा बनेको थियो । ‘भुइँचालो आउँदा २० दिन टुँडिखेलमै बस्यौं,’ महाबौद्धका जुद्धरत्न वज्राचार्य भन्छन्, ‘भित्री सहरमा खुला ठाउँ नै छैन । केही समस्या पर्दा जाने ठाउँ टुँडिखेल त हो ।’ नेपालको धार्मिक, सांस्कृतिक, राजनीतिक परम्पराको साक्षी टुँडिखेल मासिनु दुःखद् भएको बताउँछन् सांसद प्रधान । ‘जग्गा किनेर खुला ठाउँ पो बनाउनुपर्ने हो, भएको ठाउँ मास्ने ?’ उनी प्रश्न गर्छन्, ‘मेयर विदेश गएका हुन्छन् । उनले अमेरिकी राष्ट्रपति भवनअगाडिको खुला ठाउँ हेरेका छैनन् ? थाइल्यान्डको दरबारअगाडिको पार्क देखेनन् ? विदेशबाट सिक्नु पर्दैन ?’
मिच्ने प्रवृत्ति बढ्दो
सम्पदा संरक्षणका अभियन्ताले पटकपटक दबाब दिइरहँदा पनि खुला क्षेत्र मास्ने क्रम घटेको छैन । ६ महिनाअघि मात्र खुलामञ्चमा पसल राख्न ५२ वटा सटर राखिएको थियो । त्यसको चौतर्फी विरोध भएपछि काठमाडौं महानगरापालिकाले डोजर लगाएर टहरा भत्कायो । खुलामञ्च कब्जा गर्ने क्रम ०७१ सालदेखि सुरु भएको हो । काठमाडौं महानगरपालिकाले खुलामञ्चको उत्तरतिरको केही क्षेत्र साँघुर्‍याएर बसपार्क राख्न दिइएपछि खुलामञ्च कब्जा हुने क्रमले झनै तीव्रता पायो । अहिले बसपार्क सञ्चालन भएको ठाउँमा महानगरपालिकाले ढलान गरेको छ । ढलान गर्दागर्दै सम्पदा संरक्षण अभियन्ताले अष्टमीको दिन काम रोकेका थिए । तर, दुई दिनपछि महानगरले पुनः ढलान गरेको छ ।
बसपार्कभन्दा दक्षिणतिरको भाग जस्ताले बारिएको छ । त्यहाँभित्र दरबार हाई स्कुल निर्माणको ठेकेदार कम्पनीको निवासस्थल बनाइएको छ । केही भागमा गाडी पार्किङस्थल छ । ‘हामीलाई चाहिने खुला ठाउँ हो,’ संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर भन्छन्, ‘हेर्दाहेर्दै कब्जामा पर्‍यो खुलामञ्च ।’
०४८ सालपछि तत्कालीन मेयर पीएल सिंहले टुँडिखेलका पसल अस्थायी रूपमा भृकुटीमण्डप सारिदिएका थिए । अहिले भृकुटीमण्डप कब्जामा छ । संरक्षण अभियन्ताहरू भन्छन्, ‘भृकुटीमण्डप र वाग्मती किनार सुकुम्बासीले कब्जा गरेजस्तै खुलामञ्च पनि कब्जा गर्ने रणनीति हो, तर हामी दबाब दिन छाड्दैनौं ।’
०७१ फागुन २२ गते महानगरका तत्कालीन कार्यकारी अधिकृत रुद्रसिंह तामाङको पालामा पुरानो बसपार्कमा काठमाडौं भ्यु टावर बनाउने सम्झौता भएको थियो । अर्को व्यवस्था नभएसम्म खुलामञ्चमा बसपार्क सार्ने अनुमति महानगरले दियो । अस्पतालको वातावरणमा प्रभाव पर्छ भन्दै त्यसबेला वीर अस्पतालले आपत्तिसमेत जनाएको थियो । ‘अर्को व्यवस्था नभएसम्म ६ महिनाका लागि’ भनिए पनि त्यहाँबाट सारिएन । बसपार्क सञ्चालन गर्दा औषधि पसल, शौचालय, टिकट काउन्टर विश्रामस्थल गरी चारवटा संरचना बनाउने सहमति थियो । ठेकेदार कम्पनी स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले आफ्नै खर्चमा अस्थायी बसपार्क बनाउने, फोहोरमैला व्यवस्थापन गर्नेलगायतका बुँदा पनि समेटिएका थिए । अस्थायी बसपार्क प्रयोग गरेबापत काठमाडौं महानगरपालिकालाई वार्षिक ५० लाख रुपैयाँ राजस्व बुझाउने सहमति थियो । भ्यु टावर निर्माण अवधि तीन वर्ष तोकिए पनि पाँच वर्षमा बल्ल निर्माणको काम सुरु भएको छ । यसले गर्दा खुलामञ्चको बसपार्क तत्काल हट्ने अवस्था देखिँदैन ।
खुलामञ्च जनताको मञ्च भएको भएकाले यसलाई जसरी पनि जोगाउनुपर्ने काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ बताउँछिन् । ‘०४६ सालमा प्रजातन्त्र आउँदा हाम्रा नेताहरूले यही मञ्चमा विजयसभा गर्नुभयो,’ उनी भन्छिन्, ‘०६३ सालमा लोकतन्त्र आउँदा पनि यही मञ्चमा सभा भयो । जनताले आफ्नो मत राख्ने ऐतिहासिक थलो हामी मास्न दिँदैनौं ।’

 

उपत्यका

सडक विस्तारपीडित भन्छन्– जनप्रतिनिधिले झुक्याए

- प्रशान्त माली
चापागाउँ सडकमा कालोपत्रे गर्न थुपारिएको रोडाको थुप्रो छलेर लैजाँदै सवारीसाधन । तस्बिर ः प्रशान्त/कान्तिपुर

(ललितपुर) - सांसद, मेयर, चापागाउँ र ठेचोवासीबीच शुक्रबार भएको बैठकमा चापागाउँका रामभक्त महर्जनले आक्रोशित शैलीमा भने, ‘यातायात मन्त्रालय, सडक विभाग, सांसद र ललितपुरका सीडीओलाई सडक कालोपत्रे गर्नेबारे पटकपटक ध्यानाकर्षण गराएँ । नेताहरूसँग धेरै बैठक बसेँ । आश्वासन सुनियो, सडक भने जस्ताको तस्तै छ ।’
चापागाउँ, ठेचो र सुनाकोठी सडकखण्डको दुरवस्थाबारे भएको बैठकमा चापागाउँ सडक विस्तारपीडित संघर्ष समितिका संयोजकसमेत रहेका महर्जनले ठेकेदार र जनप्रतिनिधिले झुक्याएको भन्दै अब कडा रुपमा प्रस्तुत हुन बाध्य बन्ने चेतावनी पनि दिए ।
गएको जेठमा ठेचो, चापागाउँ र सुनाकोठीका बासिन्दा मिलेर पाँच दिन सडक ठप्प पारेका थिए । त्योभन्दा अघि खुमलटारवासीले डिभिजन सडक कार्यालय ललितपुरमा तालाबन्दी नै गरे । सडक ठप्प पारेपछि ती क्षेत्रका सांसद र मेयरले दसैंभित्र कालोपत्रे गरिसक्ने लिखित प्रतिबद्धता त जनाए, तर दसैं सकिएको दुई साताभन्दा बढी भइसक्दा पनि माग पूरा भएन ।
जनप्रतिनिधिको आश्वासन पूरा नभएको आक्रोश थियो महर्जनको । उनीसँगै अरू स्थानीयवासीले समेत कडा आन्दोलनको चेतावनी दिइरहँदा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सडक मंसिरभित्र कालोपत्रे गरिसक्ने अर्को आश्वासन थपे । ‘सडक विभाग र ठेकेदारलाई सहमतिमा ल्याइसकेका छौं,’ उनले फकाउने शैलीमा भने, ‘कालोपत्रे गर्न ग्राभेल पनि बिछ्याउन सुरु भइसकेको छ ।’
सांसद चेतनाथ सञ्जेलले पनि चापागाउँ र ठेचोमा कालोपत्रे मात्र नभई ढलान गर्ने नै सहमति भइसकेको बताए । ‘हालकै सडकमा कालोपत्रे गर्न सहमति भइसकेको छ,’ उनले भने ।
कन्टेक कम्पनीका सञ्चार प्रतिनिधि ललितध्वज खड्काका अनुसार चापागाउँ सडकको मापदण्ड २२ मिटर छ । ‘कम्पनी र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाबीच भएको सम्झौतामा सडक विस्तारपछि मात्र कालोपत्रे गर्ने उल्लेख छ,’ उनले भने, ‘तर, नगर विकास प्राधिकरणले कालोपत्रे गर्न सडकमा पर्ने घर, टहरा नहटाउँदा ढिलाइ भएको हो ।’
सडकको ‘राइट अफ वे’ कायम गर्ने निकाय काठमाडौं उपत्यका नगर विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुर हो । प्राधिकरणको सर्वेअनुसार सडक विस्तारमा मठमन्दिर, पाटीपौवाबाहेक सुनाकोठी, ठेचो र चापागाउँमा ८ सयभन्दा बढी घरधुरी समेटिन्छन् । प्राधिकरणले ०७४ असोजअघिसम्म समेटिएका घरको मात्र मुआब्जा दिँदै आइरहेको थियो । जग्गाको हकमा विस्थापित हुनेले मात्र मालपोतको दररेट अनुसार क्षतिपूर्ति पाउँथे ।
सर्वोच्च अदालतले दुई वर्षअघि विस्थापित नहुनेहरूलाई पनि क्षतिपूर्ति र मुआब्जा दिएर मात्र सडक विस्तार गर्न सरकारको नाममा आदेश जारी गर्‍यो । प्राधिकरण ललितपुरका सूचना अधिकारी पूर्ण महर्जन भन्छन्, ‘चापागाउँ सडकमा जग्गाबाहेक घरको मुआब्जा दिन झन्डै एक अर्ब रुपैयाँ आवश्यक पर्छ । प्राधिकरणसँग वार्षिक बजेट करिब डेढ करोडमात्र हुन्छ ।’


ठेकेदारले पैसा लिए, काम गरेनन्
सातदोबाटो–लेले सडकमा विभिन्न मितिमा चार वटा ठेक्का सम्झौता भएको छ । ढोलाहिटी–ठेचो ३.२ किमि सडक दिवा र शैलुङ कन्सट्रक्सन जेभीले २३ करोड ३१ लाख ४६ हजार रुपैयाँमा ०७५ कात्तिकमा सकिने गरी ०७३ मा ठेक्का पाएका थिए । ठेकेदारले सरकारसँग २ करोड ८३ लाख १८ हजार रुपैयाँ लिइसकेका छन् । ठेचो–चापागाउँ ४ किमि सडक कन्टेक कम्पनीले २६ करोड ७१ लाख ९३ हजारमा ०७५ भदौमा सम्पन्न गर्ने गरी ०७३ मा ठेक्का पाएको थियो । कम्पनीले सरकारसँग ३ करोड ३० लाख ९८ हजार रुपैयाँ लिइसके पनि काम भने सुरु गरेको छैन ।
चापागाउँदेखि २.७ किमि सडक पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीले ३७ करोड ५२ लाख ७६ हजारमा ०७६ मा सम्पन्न गर्नेगरी ०७४ मा ठेक्का पाएका थिए । ठेकेदारले सरकारसँग ३ करोड ९० लाख ७५ हजार लिइसकेका छन् । चापागाउँ–लेले सरस्वतीकुण्डसम्म ३.११ किमि सडक पनि पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीले ३७ करोड ५२ लाख ७६ हजारमा ठेक्का पाएका थिए । उक्त सडक ०७६ मा सम्पन्न गर्ने गरी ०७४ असारमा सम्झौता भएको थियो । पप्पुले ५ करोड ५२ लाख ९७ हजार लिइसकेको छ ।
ठेकेदारले रकम अन्यत्र लगानी गरेर नाफा कमाउन खोज्दा सडक विस्तारमा ढिलाइ भएको सडकपीडित संषर्ष समितिका सदस्यहरू बताउँछन् । चक्रपथ–तिलेश्वर सडक विस्तार पीडित संघर्ष समितिका निवर्तमान अध्यक्ष कमल विष्टले ठेकेदारसँग जनप्रतिनिधि र कर्मचारीको मिलेमतो भएकाले कालोपत्रेमा ढिलाइ भएको आरोप लगाए । ‘काम सुरु गर्न ठेकेदारलाई दिइने २० प्रतिशत मोबिलाइजेसन खर्च जग्गालगायत क्षेत्रमा लगानी गर्छन्,’ उनले भने, ‘त्यसबाट आएको मुनाफा बाँडीचुँडी खाने हुन् ।’
सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले भने यो आरोपको खण्डन गरे । ‘पछिल्लो समय ठेकेदारलाई काम सुरु गर्न मोबिलाइजेसन भनी रकम दिने गरिएको छैन,’ उनले भने, ‘नगर विकास प्राधिकरणले सडकको ‘राइट अफ वे’ कायम गर्ने विश्वासले ठेक्कापट्टा गर्दा समस्या आएको हो ।’


२२ मिटर कायम हुन सकेन
चापागाउँ सडकको मापदण्ड २२ मिटर कायम गरिएको थियो । ०६९ तिर ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी नेतृत्वको बैठकले त्यसलाई घटाएर १७.२ मिटर कायम गर्‍यो । सोहीअनुसार सातदोबाटो–ढोलाहिटी सडक १७.२ मा विस्तार गरियो । ०७२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ मिटर नै कायम गर्न निर्देशन दियो । तर, जिल्ला प्रशासन कार्यालय र नगर विकास प्राधिकरण आयुक्त कार्यालय ललितपुरले उक्त निर्देशन कार्यान्वयन गर्न सकेका छैनन् ।
सडक विस्तारपीडित संघर्ष समिति मुख (सातदोबाटो) मा २२ मिटर कायम नगरीकन भित्र (सुनाकोठी–ठेचो–चापागाउँ सडक) मात्र २२ मिटर विस्तार
गर्न नदिने अडानमा छ ।
समितिका अध्यक्ष विष्टले नगर विकास प्राधिकरणले भित्रका घरटहरा भत्काउन सातदोबाटोमा मापदण्ड कायम गरेर देखाउनुपर्ने बताए ।
नगर विकास प्राधिकरण आयुक्तको कार्यालय ललितपुरका सूचना अधिकारी महर्जन भने बिस्तारै २२ मिटर कायम गर्दै जाने बताउँछन् । ‘कतिपय घरधनी आफैंले मापदण्ड कायम गर्न घर भत्काउन सुरु गरिसकेका छन्,’ उनले भने, ‘स्थानीयको सहमति भएमा मठमन्दिर तथा पाटीपौवा निश्चित स्थानमा सार्न सकिन्छ । नभए जस्ताको तस्तै राखेर विस्तार गर्न सकिन्छ ।’


गोदावरी सडकमा मुद्दैमुद्दा
सडक विस्तारमा असन्तुष्टहरूले सर्वोच्च अदालतमा मुद्दा नै हालेका छन् । कर्मनाशा खोला–हरिसिद्धि–गोदावरी कुण्ड सडकखण्ड प्रभावित मायादेवी महर्जन, जोगबहादुर महर्जन, कृष्णबहादुर साहीलगायत १० भन्दा बढीले मुद्दा दायर गरेका हुन् ।
उपत्यका सडक विस्तार आयोजनाका अनुसार सर्वोच्चको ‘स्टे अर्डर’का कारण एक सय २० वटा घर हटाउन सकिएको छैन । घरजग्गाको क्षतिपूर्तिका कामसमेत सुरु भएको छैन ।
कर्मनाशादेखि ४.१५ किमि सडक कालोपत्रे गर्न आशिष/सीएम जेभीले ०७५ कात्तिकमा सम्पन्न गर्ने गरी ०७३ मा २९ करोड ९ लाख ७१ हजारमा ठेक्का पाएका थिए । त्यसभन्दा माथिको ३.४५ किमि सडक विस्तारका लागि लामा/समानान्तर जेभीले ०७६ कात्तिकमा सम्पन्न गर्ने गरी ०७४ मा ३८ करोड ६ लाख ७८ हजार रुपैयाँमा ठेक्का पाएका थिए ।

उपत्यका

मध्यपुर थिमिमा ८ वटा पार्क बन्दै

- लीला श्रेष्ठ

(भक्तपुर) - मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रभित्र ८ वटा पार्क निर्माण गर्ने भएको छ । नगरपालिकाको तेस्रो नगरसभामा पेस भएको चालू आर्थिक वर्ष ०७६/७७ को वार्षिक नीति तथा कार्यक्रमअनुसार फोहोर फाल्ने स्थानको रूपमा रहेको सार्वजनिक/पर्ति जग्गा संरक्षण गरी पार्क निर्माण गर्न लागिएको हो ।
मध्यपुर थिमि–१ लोकन्थलीको सार्वजनिक जग्गा संरक्षण गरी बाल उद्यान निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको वडाध्यक्ष सुरज खड्काले बताए । ‘गोरखनाथ क्षेत्रको भिरालो क्षेत्रमा भू–क्षयको समस्या भएकाले गत आवमा २० लाख रुपैयाँको लगानीमा टेको लगाइएको थियो,’ उनले भने, ‘चालू आवमा बाल उद्यान निर्माण तथा व्यायाम केन्द्र निर्माण गर्ने योजना छ ।’
मध्यपुर थिमि–२ नाट्यश्वरीमा अत्याधुनिक अपांगमैत्री नाट्यश्वरी पार्क बन्ने भएको छ । पार्क निर्माणका लागि नगरपालिकाले चालू आवमा ७५ लाख रुपैयाँ विनियोजन गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । मध्यपुर थिमि–२ वडा कार्यालयले सुविधासम्पन्न अपांगमैत्री पार्क निर्माणको तयारी गरेको जनाएको छ । समुदायलाई समेट्ने गरी करिब १० रोपनी क्षेत्रफलमा फूलबारीसहितको भ्यु टावर, सत्तल, पार्किङ, चिल्ड्रेन पार्क, रक क्लाइम्बिङ, वाटर फललगायत संरचना बनाउन डिजाइन तयार गरिसकेको वडाध्यक्ष राम थापामगरले बताए । पार्कमा सत्तल निर्माणका लागि ३६ लाख ६५ हजार रुपैयाँ, पार्किङसहितको सामाजिक भवन निर्माणका लागि ५१ लाख ९५ हजार, भ्यु टावर निर्माण गर्न ७१ लाख २७ हजार, शौचालयका लागि २५ हजार ४७ हजार, ल्यान्डस्केपका लागि १ करोड ९४ लाख ३७ हजार गरी करसहित करिब ४ करोड २९ लाख रुपैयाँ लागत इस्टिमेट तयार गरेको वडा कार्यालयले जनाएको छ ।
मध्यपुर थिमि नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पार्क निर्माणको अवधारणा अघि सारेको थापामगर बताउँछन् ।
त्यसैगरी, मध्यपुर थिमि–४ शंखधर चोकमा अपांगमैत्री शंखधर पार्क निर्माण सुरु भएको छ । मध्यपुर थिमिको मुख्य प्रवेशद्वार शंखधर चोकसँगैको भिरालो क्षेत्रमा फुटपाथसहितको पार्क निर्माण हुनेछ । करिब १ सय ३० रोपनी क्षेत्रफलमा परम्परागत प्राचीन ढुंगेधारा तीनवटा, सिँढी, फुटपाथ र रेलिङ निर्माण गर्न लागेको नगरपालिकाले जनाएको छ । साबिक इनार तथा कुवाको पानी ढुंगेधाराबाट आउने गरी निर्माण गरिसकेको नगरप्रमुख श्रेष्ठले बताए । प्राविधिकको रिपोर्टअनुसार पार्क निर्माण तथा सर्वेका लागि करिब १३ करोड रुपैयाँ लागत इस्टिमेट तयार पारिएको छ । नगरपालिकाले गत आवमा शंखधर चोक गुरुयोजना कार्यान्वयन शीर्षकमा ५० लाख रुपैयाँ र शंखधर चोक हनुमन्ते सडक सुधार शीर्षकमा ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । चालू आवको वार्षिक बजेट, नीति तथा कार्यक्रममा शंखधर चोक गुरुयोजना कार्यान्वयन शीर्षकमा १ करोड रुपैयाँ विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै, मध्यपुर थिमि–९ स्थित नीलबाराही क्षेत्रमा नगरपालिकाले इको पार्क बनाउने भएको छ । भू–क्षयका कारण उक्त क्षेत्रमा ८ वटा खोँचहरू बनेका छन् ।
‘नगरभित्र संकलित फोहोरमध्ये ६० प्रतिशत कुहिने, २० प्रतिशत पुनः प्रयोग गर्न सकिने र २० प्रतिशत प्रयोग गर्न नमिल्ने फोहोर छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘कुहिनेलाई प्रांगारिक मल बनाउने र नकुहिनेलाई समेत दुई भागमा विभाजन गरी व्यवस्थापन गर्ने योजना छ ।’
चालू आवको वार्षिक नीति तथा कार्यक्रममा विष्णुकुण्डल पार्क निर्माणका लागि २५ लाख विनियोजन गरिएको छ । विष्णुकुण्डल क्षेत्र हरियाली/सुन्दरताका लागि युरोपियन युनियनले करिब १० लाख रुपैयाँ सहयोग गरेको नगरपालिकाले जनाएको छ । मध्यपुर थिमि–५ ले नीलवर्ण गणेश चोडेस्थित फोहोर फाल्ने स्थानलाई सरसफाइ गरी पार्क निर्माण गर्ने भएको छ । करिब ६ रोपनी क्षेत्रफलमा बन्न लागेको पार्क निर्माणका लागि नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । त्यस्तै, मध्यपुर थिमिले नगदेश संग्रहालय तथा पार्क निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले बताए ।

उपत्यका

सांसद गौतमको डेरामा चोरी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रतिनिधिसभा सदस्य तथा नेकपा नेता राजेन्द्र गौतमको डेरामा चोरी भएको छ । बानेश्वरस्थित सांसद गौतमको कोठाबाट बिहीबार दिउँसो २ देखि ५ बजेसको समयमा कोठामा चोरी भएको सांसद गौतमले बताए । घटनाबारे गौतमले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका छन् । करिब ३ लाख रुपैयाँबराबरको धनमाल चोरी भएको उनको दाबी छ । चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Page 6
विविधा

पर्दामा जीवन काँडा कि फूल

‘मा न्छेले समयभन्दा काल बाँच्नुपर्छ’ भन्दै आफ्नै सार्थक र अद्वितीय जीवन बाँचिरहेकी झमक घिमिरेको कथानक अब चलचित्रको पर्दामा पनि उत्रिएको छ । शारीरिक रूपमा अशक्त रहेर पनि मानसिक सशक्त स्थितिका बलमा झमकले ‘जीवन ः काँडा कि फूल’ को प्रतिकात्मक अर्थ र बुझाइले नेपाली सिर्जन जगतमा जेजति नामकाम देखाइन्, त्यो अथाह छ, अपार छ । आफ्नी बहिनीले पढेको, लेखेको देखेर र सुनेर खुट्टाको औँलाले बालुवामा ‘क’ लेख्ने यत्नमा जुटेकी झमकको काँडा जीवनले कसरी देश–दुनियाँलाई देखाउन
सकिनेगरी फूलको रूप लियो भन्ने सन्देश पनि उनकै आत्मकथा पढेर धेरथोर थाहा पाउन सकिन्छ ।
यतिखेर सन्दर्भ छ, उनै झमक र उनको ‘जीवन ः काँडा कि फूल’ कृतिबारे । यही आत्मकथामा उभिएर निर्देशक विनोद विष्टले फरक धारको चलचित्र बनाउने उद्घोष गरेपछि म पनि यसमा जोडिएकी थिएँ । मणिपुरी तथा नेपाली चलचित्रहरू ‘प्रेम प्रतिज्ञा’, ‘संघर्ष’, ‘म कसरी भनुँ’ र केही म्युजिक भिडियोमा नामकाम देखाइसकेका विष्टले नेपाली चलचित्र जगतमा पहिलोपटक एउटा जीवित पात्रको ‘बायोपिक’ बनाउन लागेको समाचारले म आल्हादित बनेकी थिएँ । योभन्दा महत्त्वपूर्ण पक्ष त यो पर्दाको कथानकमा म स्वयम्ले पनि एउटा पात्रका रूपमा उभिनुपर्ने प्रस्ताव सुनेरै म एउटा इतिहासको भागिदार बन्नसकेकोमा धन्य ठानिरहेकी थिएँ । निर्देशक विष्टले यो कथानकमा छानेका पात्रहरू आफैंमा अब्बल त थिएँ नै । त्यसमा पनि बाल्यकालीन र युवाकालीन झमकको छनोट गर्नमा देखाएको दौडधुप (तरक्की) म अझै सम्झिरहेकी छु । निर्देशक विष्टले दर्जनौँ प्रतिभालाई तौलेर गाडीधुराकी ७ वर्षीय नृत्यांगना अवस्था थापालाई बाल झमकका रूपमा र काठमाडौँ थिएटर भिलेजकी नाट्य कलाकार रोजिता बुद्धाचार्यलाई हुर्किएकी झमकका रूपमा छानेको समेत थाहा पाएँ । यी पात्र छान्नमै झन्डै डेढ वर्ष लागेको पृष्ठभूमि आफैंमा यहाँ उल्लेख्य हुनसक्छ ।
२०१५ को नोभेम्बरको एक बिहानी मैले पनि ‘जीवन ः काँडा कि फूल’ को पटकथा हात पारेँ । विष्ट ब्रदर्स फिल्मको व्यानरमा बन्नलागेको फिल्ममा कला निर्देशक सन्तोष लामाले लेखक झमककै घर धनकुटा, कचिंडे वरपर फिल्मको सेट तयार गर्नेबारे पनि जानकारी पाएँ । यत्रो तयारीपछि २०१६ को मार्चमा मात्रै फिल्म सुटिङका लागि म पनि दार्जिलिङबाट धनकुटातिर लागेँ । बीच बाटामा अर्का लेखक एवं बन्नलागेको फिल्मका कलाकार डा. गोविन्दराज भट्टराईको साथ मिल्यो । धनकुटा उत्रँदा निर्देशक विष्ट, गायिका जुनु गौतम, पटकथा लेखक मुक्ति उपाध्याय, नृत्यनिर्देशक कमल राई सबैजना आफ्नै व्यस्ततामा पाएँ । त्यो भिडमा ‘परालको आगो’ फिल्मकी ऐतिहासिक नायिका भनेर मलाई चिनारी गराउँदा कताकता अप्ठ्यारो लागिरहेको थियो । किनभने म इतिहासमा मात्रै थिएँ, वर्तमान बल्ल बन्नै लागेको थियो । त्यहाँ फिल्मको पटकथा अनुसार भूमिका निर्वाह गर्न अभिनेत्री उमा बेबी, किशन सुनार, संगीतकार प्रकाश शिवाकोटी, फोटोग्राफर महेश थापा, रोजिता बुद्धाचार्य, सारिका घिमिरेसहितको भिडभाड देख्न पाएँ ।
धनकुटा उत्रिएको भोलिपल्ट झमकको निवास कचिंडेपतर लागेँ, फिल्म सुटिङको स्पट पनि त्यहीँ रहेको थाहा भइसकेको थियो । फिल्मी अभिनयभन्दा हतार त मलाई साधक झमकलाई भेट्नु थियो, दर्शन गर्नु थियो । ‘म मेनुका प्रधान, तपाईंकी हजुरआमाको भूमिकामा खेल्दैछु’, भेट हुनासाथै झमकलाई मैले सुनाएँ । अनि झमकले नजिकै कपी तानेर खुट्टाको औँलामा कलम चेपेर लेखिन्—‘खुसी लाग्यो म्याडम...।’
‘किन म्याडम ? कसरी म्याडम ? मलाई मनपरेन’, मैले फेरि जिज्ञासा राखेँ ।
‘हुन्छ नि त, अबदेखि दिज्यू भन्छु’, फेरि झमकले लेखिन् ।
यसरी आत्मीयता बढ्दै गयो, झमक परिवार आफ्नैझैं बन्यो । झन्डै २० दिनको सुटिङ अवधिका कारण हामी एउटै छानामुनिका आफन्त बन्यौँ । अझ रमाइलो त के छ भने अहिले पनि झमक र उनकी बहिनी मौसमीसित फेसबुक मेसेन्जरमार्फत कुराकानी भइरहेकै हुन्छ । भूमिकामा झमककी हजुरआमाको दृश्यमा म उत्रिएकी थिएँ । फरिया, चौबन्दी, चोली, पटुका, ढुङ्ग्री, मुन्द्रीसहितको पोसाकमा म झमकका सामु पुगेकी थिएँ । झमकले हत्तपत्त कापीमा लेखेर भनिहालिन्, ‘मेरी हजुरआमाले मुन्द्री लगाएको मलाई थाहा छैन ।’
अनि हत्तपत्त मुन्द्री फुकालेर झमकले भनेकै हजुरआमा बनेँ । ‘जीवन ः काँडा कि फूल’ मा झमककी हजुरआमाको देहावसान अति मार्मिक ढंगमा भएको वर्णन गरिएको छ । झमकका आमाबाबु उसलाई हजुरआमासित छाडी माइत गएका बेला अचानक हृदयाघात भएर हजुरआमाको मृत्यु भएको हुन्छ । सानी झमक हजुरआमाको मृत्यु भइसकेको यथार्थबारे बेखबर हुन्छे । तैपनि हजुरआमा सामुमा हल न चल भएर सुतेको देख्दा देब्रे खुट्टाले झकझकाउँदै उठाउने प्रयास गरिरहेकी हुन्छे । नउठेपछि मृत हजुरआमासँगै टाँसिएर सुतेको दृश्य आफैंमा कारुणिक थियो । यो दृश्यमा अभिनय गरिरहँदा म आफैं मर्माहत बनेकी थिएँ ।
यसरी एउटा यथार्थ जीवनको कथा घेरामा बाँधिएर अभिनय गर्न पाउनु र अभिनय गर्नुलाई मैले पहिलोपटक असाध्य काम भन्ठानेकी छु । झमक घिमिरे साहित्यिक प्रतिष्ठान र धनकुटाका स्थानीय बासिन्दाले यो यथार्थ कथामा अझ प्राण भर्ने काम गरेका छन् । यसरी अनेक तहका भगीरथ यत्नले बनिसकेको ‘जीवन ः काँडा कि फूल’ निकट भविष्यमा नेपालका सम्पूर्ण सिनेमा हलमा प्रदर्शनमा आउने खबरले मैले साहित्यिक द्रष्टा झमक वरपर बितेको समयको स्मरण गर्न चाहेकी हुँ ।

मेनुका प्रधान
लेखक नेपाली फिल्म ‘परालको आगो’ की नायिका हुन् ।

विविधा

टोरन्टोमा नेपालको साहित्य बहस

समय रेखा
- अभि सुवेदी

हामीले साहित्यको बाटो गरेर चेतनाका अनेकौं युग हिँडेछौँ । एकतन्त्री शासन होस् कि लोकतान्त्रिक साहित्यको बाटोबाट चेतनाका कालखण्डहरू बनाएछौँ । यसरी नेपाल र बाहिर हाम्रा रचना नै हामीले बुझ्ने र बुझाउने युगका बहस भएछन् । हामीले रोजेको माध्यम साहित्य र कला राजनीतिजनिन ऐतिहासिक प्रणालीको समानान्तर शक्ति हो । साहित्य मौखिक वा गेय होस् कि लेख्य वा मुद्रित, त्यो एक समानान्तर धार र शक्ति भइआएको इतिहास छ । यसका चेतना बनाउने र फैलाउने आफ्नै प्रणाली हुन्छन् । मैले २५ अक्टोबर २०१९ को दिन क्यानाडाको टोरन्टो विश्वविद्यालयको दक्षिण एसियाली विभागको निमन्त्रणामा प्रस्तुत विचारको सार थियो यो । यो लेखमा तिनै प्रस्तुतिका केही सार र यात्राको अनुभव राखेको छु ।
दुवईबाट एकोहोरो अलास्का हुँदै १४ घन्टाको उडानबाट अलिक काठमाडौँली भाइरल बिमारले थाकेको देह र मन लिएर टोरन्टो पुग्नु मेरानिम्ति एउटा निकै चुनौतीको विषय थियो । मैले यस्तो पट्यारलाग्दो उडान सन् १९९४ मा अमेरिका जाँदा गरेको थिएँ, त्यसपछि यही हो । निकै यात्रा गरेंँ, तर मेरो देह र मनले भने अनुसार यो निकै असहज यात्रा थियो । शंकर लामिछाने दाइको शीर्षक अर्धमुदित नयनका सूक्ष्म कल्पना नभएर ती पट्यारका क्षणहरू थिए । यही अर्धमुदित अवस्थामा एउटा श्वैरकल्पनाको उपन्यास लगभग बनाएँ । त्यसमा म आफैं पात्र थिएँ । ‘म्याजिक रियालिजम’ को त्यो उपन्यास लेखेँ भने यो यात्रा सम्झिनेछु, फेरिफेरि । नेपालका घटना शृङ्खलाहरूबाट बुझेका छौँ हामीले, अहिले यथार्थमा पाइला टेक्नुपर्ने बेला आएको छ । युग परिवर्तन भएको उत्तेजना यथार्थ हो । तर मेरो काल्पनिकीमा देख्दै गएँ, हामी सबै त्यो उत्तेजनाले दिएका सुन्दर कुरालाई यथार्थबाट धकेल्दै बाहिर निकालिरहेका छौँ ।
टोरन्टो विमानस्थलमा मलाई लिन त्यहाँ अध्यापन र अनुसन्धान गरिरहेका, नेपाली र अंग्रेजी भाषाका कवि र मित्र अनि आफ्ना पूर्वविद्यार्थी पुष्प आचार्य घना केशमुनि अलिअलि हाँसेर उभिएको देखेपछि लाग्यो, ‘म्याजिक रियालिजम’ को मेरो उपन्यास हुस्सेजस्तै विस्तारै हराउँदै जाँदैछ । कलिलो घाम सफा आकाशबाट झरिरहेको छ । अनि अर्को हँसिलो युवक पनि अगाडि आउँछन् । देख्छु, ती यताको कुनै थलोमा अन्तर्ध्यान भएका थिए, मेरानिम्ति । मेरा प्रिय विद्यार्थी, मेरो जोडले निकै अघि लिम्बु मौखिक काव्यमा एमएको थेसिस लेखेका डिल्ली इन्दिङ्गो थिए ती । पुष्पले भने, ‘भोलि यिनले हामीलाई उनको गाडीमा नायगरा फल्स लाने भनेका छन् ।’ नायगरा फल्स चित्र र पेन्टिङमा देखेको र कल्पना गरेको भन्दा अलिक फरक तर झ्वाम्म समाउने तरल दृश्य थियो । यो अमेरिकी इन्डियन भनिने आदिवासी सभ्यतादेखिका नाम र स्मृति बोकेको झर्नामा युरोपेलीका इतिहास जोडिन पुगे । एकाध अनौठा कथाहरू लेखिए र भनिए । इङ्लिस चेनल पहिलोपटक पौरेर पार गरेका कप्तान माथ्यु वेब यतातिर आफ्नो साहसको अर्को प्रयोग गर्न आए । सन् १८७५ मा नायगरा फल्सबाट पनि चेनलमा जस्तै साहसपूर्वक पौडिँदै निस्कन खोज्दा ती त्यतै हराए । युरोपेलीहरूले अमेरिकी महादेशमा आएर देखेको प्रकृति कवि वर्डस्वर्थको बेलायती सुन्दर छाँगो थिएन, अनि प्रकृति सधैँ नयनाभिराम थिएन । अमेरिकी साहित्यमा चित्रण भएको प्रकृति निकै उत्ताल र चुनौतीपूर्ण छ । अमेरिकीहरूलाई (क्यानाडेली पनि पर्छन्) अरुको उत्ताल भूमिमा आएर बसेका छौँ भन्ने चेतनाले अहिले पनि छाडेको छैन । यहाँको प्रकृति उनीहरूको धर्म होइन, कर्ममात्रै हो । त्यसैले ती अहिले पनि आदिवासीका भूमि ध्वस्त पारेर तेलका पाइप ओछ्याउँछन्, संरचना बनाउँछन्, अनि जंगल नष्ट गर्छन् । त्यसको पछिल्लो उदाहरण सरकारकै सहमतिमा लागेको ब्राजिलको अमेजन जंगलको डढेलो हो । यता दक्षिण एसियातिर विशाल जलराशि मिथक र काव्य हो । मानसरोवरको जलराशिको एकाछेउमा एउटा काकभुशुण्डी पन्क्षी बसेर महाकाव्य र सृष्टिका कथा भन्छ । गंगानदीको छाँगो महादेवका जटामाथि खस्छ, अनि नदी भएर प्रवाहित हुन्छ । नेपालका जलराशिसँग महाकवि र कविताका अभिव्यञ्जना जोडिन्छन् । नेपाल र भारतका यस्ता महाकाव्यिक जलराशि विनाश गर्न पुँजीको अन्धाधुन्द युग ल्याउनेहरू लागेका छन् । जलप्रवाह र मानिसको काव्यिक सम्बन्ध भ्रमित हुँदैछ ।
मलाई आमन्त्रण गर्ने दक्षिण एसिया केन्द्रका निर्देशक क्रिस्टोफ एमरिख सन्दर्भहरू र केन्द्रले मबाट चाहेको कुरा सुनाउँछन् । अनि पुष्प आचार्य मेरो परिचय दिन्छन् । लाग्छ, कतै नेपालमै छु । प्राज्ञिक र अन्य कर्मका प्रतिभाशाली नेपालीहरूको पनि उपस्थिति छ, जसमध्ये मेरा पहिलेका त्रिविमा पढाएका विद्यार्थीहरू पनि देख्छु । लाग्छ, मैले लेखेको संकथन पत्र लामो छ, अनि अलिक क्यानभास फराकिलो गर्न चाहेको छु ।
यो पत्र मैले केही समयदेखि अध्ययन गरिरहेको विषयमाथि लेखेकोले त्यहाँ सार कुरामात्र राख्छु र छलफलको निम्ति पर्खिन्छु । मेरो भनाइको सार यस्तो छ– नेपाल सामन्ती प्रणालीबाट ढिलो गरी बाहिर निस्केको वा निस्कन लागिरहेको समाज हो । त्यो समाजमा हिजोदेखि आजसम्म हेर्दै जाँदा दुइटा कुराको समानान्तर विकास भएको देखिन्छ । एउटा सामन्ती शासन, व्यवस्था र त्यसको चेतना अघि बढ्न नदिने संस्कार र सरकार अनि अर्कोतिर चेतनालाई स्वतन्त्र राख्ने, अनेकौं उपाय गरेर स्वतन्त्र मानिसको बोल्ने वा गाउने अनि लेख्ने पद्धतिलाई कायम राख्ने समानान्तर सिर्जनशील कर्म । मौखिक परम्परामा लोकगीत र कविताबाट यो कायम गरियो । भाका र लय, लोकस्मृतिको प्रयोग यस परम्पराका शैली भए । राज्यले लेख्न प्रतिबन्ध लाएको नेपाल भाषामा बुद्ध र हिन्दु धर्मजनिन गीतको माध्यम त्यस्तै समानान्तर शक्ति थियो ।
लोक वा मौखिक परम्पराबाट लेख्य परम्परामा नेपाली काव्य वा गद्यविधालाई लानु एउटा समानान्तर शक्तिको रचना गर्नु नै थियो । यो हामी साहित्य समीक्षा लेख्नेहरूले पनि खासै ध्यान नदिएको विषय हो कि त जस्तो लागेको हो मलाई, अहिले । मैले बनारसमा नेपाली साहित्यिक विधाका किताब छापेर नेपालका बजारमा पठाउने यतैबाट गएका नेपाली लेखक र प्रकाशकले गरेका कर्मलाई समानान्तर सिर्जना सामर्थ्य मानेको छु । यस विषयका अध्येताहरूले उन्नाइसौं शताब्दीको अन्त्यदेखि लगभग सन् १९२५ सम्ममा मुद्रण भएका किताबहरूका उदाहरण दिएका छन् । बनारसमा छापिएर नेपाल भित्रनेमा रामायण, महाभारत काव्य, लोकविश्वास र सौन्दर्यशास्त्रका किताब पर्छन् । सन् १८९६ देखि १९२० सम्ममा मात्रै झन्डै तीन लाख थान किताब प्रकाशन र वितरण भएका तथ्य भेटिए । यो बेला नेपालमा राणाशासन थियो । यी सबै प्रकाशनमा राणा शासकहरूले पनि यो समानान्तर शक्तिलाई हात लिन अनुदानहरू गरेका उदाहरण पनि भेटिए । तर सन् १९२५ सम्ममा भानुभक्त आचार्य (१८७१–१९२३) को रामायणको २१ सौं संस्करण बजारमा आउनु त्यो बेलाको मुद्रण र कविताको बजारको हिसाबले सानो कुरा थिएन ।
यो साहित्यले बुझाएको समानान्तर शक्तिको विषयलाई म स्वतन्त्र कल्पनाको वैश्विक तरङ्गको रूपमा उदाहरणसहित प्रस्तुत गर्दै जान्छु । रोमानी कल्पना भनिने त्यो बेलाको लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ र अरु केही कविको प्रयोगलाई राणाशासनकै बेला पनि साहित्यको समानान्तर शक्तिले ल्याएको मुक्ति चेतनाको प्रयोगको रूपमा व्याख्या गर्छु । राज्यशक्ति वा शासकहरू त्यही चेतनाको विस्तारलाई दबाउने कर्म गर्थे । समाजमा स्वतन्त्र कल्पनाको उडान गर्ने अनुमति थिएन, तर पनि साहित्यको, विशेषगरी काव्यको प्रयोग भयो । भन्दै जान्छु, यो समानान्तर शक्ति भनेको युगिन वैश्विक चेतनाको साहित्यमा प्रयोग हो । मार्क्सवाद अनि यो पछिल्लो समयमा आधुनिकता वा ‘मोडर्निजम’, उत्तरआधुनिक वा ‘पोस्ट मोडर्निजम’ भनेर साहित्यमा जुन छलफल भई आए, तिनको सामाजिक, सांस्कृतिक वा राजनीतिक अर्थ हुन्छ । तर साहित्यले यो समानान्तर चेतना प्रवाह र प्रयोगको शैलीलाई अगाडि बढाएको भए पनि राजनीतिक र सामाजिक क्षेत्रमा यी विचारका खासै बहस भएनन् ।
छलफल हुन्छन्, लामै प्रस्तुति हुन्छ । क्रिस्टोफ छलफल गराउन चाहन्छन् । सटिक तर्कहरू उठ्छन् । म आफ्नो सिद्धान्त व्याख्या गर्दै जान्छु । भोलिपल्ट लक्ष्मी जयन्तीको दिन नेपाली साहित्य समाजका रविन थपलिया र खेम गुरागाईंको निमन्त्रणामा जान्छु । देवकोटाको व्याख्या गर्ने पद्धतिमा परिवर्तन आउनुपर्छ भन्ने मेरा पछिल्ला मान्यताका केही बुँदा राख्छु । विद्यावारिधि गरेर शिक्षक भएका मेरा केही पहिलेका विद्यार्थी र साहित्यकार भेटिन्छन् । छलफल हुन्छन् । गोविन्दसिंह रावतको आप्रवासन साहित्य समीक्षाको किताब विमोचन गर्छु । मेरा देवकोटा समीक्षा बारेका पछिल्ला धारणाको संकथन अलग्गै लेख्नु छ ।
टोरन्टोको बसाइ छोटो भए पनि मलाई यो अनुभव तीव्र, आसन्न र प्रेरक भएको छ । पुष्प आचार्य विश्वविद्यालयको तुलनात्मक साहित्यको छलफल उनको विभागमा गराउँदैछन् । म सहभागी हुन्छु । क्यानाडाका विभिन्न सहरमा संगीत प्रस्तुति र प्रवचन गर्दै हिँडेका सलिलले टोरन्टोमा गर्ने प्रस्तुतिमा कविता पनि प्रयोग गर्ने योजना बन्दै रहेछ । नेपाली साहित्य र कलाका साधकहरूले यसरी साहित्य, संगीत र कलाका प्रयोग गरिआएको कुरा समानान्तर शक्तिकै वैश्विक आयाम हो ।

विविधा

छठको चहक

- जितेन्द्र साह

महापर्व छठका लागि तीन महिना अघिदेखि व्यवसायीले बाँस वा पित्तलको नाङ्लो एवं ढाकीको भण्डारण गर्छन् । अगाध आस्थासाथ चार दिनसम्म मनाइने यो पर्वको सेरोफेरोमा थेग्नै नसकिनेगरी यी सामग्रीको माग बढ्ने हुनाले व्यवसायीहरूले पूर्वतयारी गर्नुपर्छ । कतिपय व्रतालुले हाटबजारबाट नकिनी हस्तकला शिल्पीलाई बनाउन लगाउँछन् । एक महिना पहिलादेखि नयाँ बाँसको चोया खुर्कँदै नाङ्लो एवं ढाकी बनाउने कार्यमा दलित डुम, पासवान र आदिवासी सन्थाल लगायतका मिहिनेती समुदाय व्यस्त हुन्छन् ।


व्रतालु एवं परिवारजनले धेरै दिन पहिलेदेखि चराचुरुंगीलाई समेत जुठो पार्न नदिनेगरी गहुँ र चामललाई चोख्याएर सुकाउँछन् । छठको दिन गहुँ एवं चामलको पिठोबाट क्रमशः बहुचर्चित प्रसाद ठेकुवा, भुसुवा एवं पुरी बनाउँछन् । यो पर्वमा मौसमी फलफूल, तरकारी एवं गेडागुडी चढाइने हुनाले यतिखेर खेतबारीको निकै हेरचाह गरिन्छ । वन्यजन्तुले बोटमा फलिरहेको फललाई जुठो नपारुन् भनेर विशेष ध्यान दिइन्छ । पूर्णतया साकाहारी विधि अनुसार मनाइने छठमा घरकी मुख्य व्रतालु महिला एवं परिवारजनले दसैं पछिदेखि माछा, मासु खान छाड्छन् ।
यो पर्वमा प्रयोग हुने भाँडाकुँडा र प्रसाद तयार पार्नलाई छुट्याइएको आँगन वा बरन्डालाई सफा पानीले पखालेर शुद्ध पारिन्छ । मधेसको ग्रामीण भेगमा पकवान बनाउने प्रयोजनकै लागि माटाको बेग्लै चुल्हो तयार पारिन्छ । व्यावहारिक कारणले अलिक सम्भव नहुने हुनाले सहर–बजारतिरकाले भने ग्यासकै चुल्होमाथि गंगाजल छर्केर पवित्र पारी सामग्री बनाउँछन् ।
मुख्यतः घरका ज्येष्ठ वा स्वस्थ महिलाको अगुवाइमा गरिने छठको तयारीसँगै विधि पनि निकै गाह्रो हुन्छ । हुन त पुरुष पनि यो पर्वमा उपवास बस्छन्, तर महिलाको तुलनामा यो संख्या नगण्य हुन्छ । श्रीमान, सन्तान एवं परिवारकै सुखनिम्ति गरिने यो नारीप्रधान पर्वमा पुरुषहरू सहयोगी वा आसेपासे भूमिकामा सीमित हुन्छन् ।
मधेसमा डाला पूजाको नामले समेत बुझिने यो पर्वको पहिलो दिन व्रतालुले लौका, दाल र भातजस्ता साकाहारी भोजन ग्रहण गरेपछि पूर्णतया उपवास बस्छन् । यसलाई स्थानीय भाषामा ‘नहा खा’ वा ‘नहाए खाए’ भनिन्छ । उनीहरू यसका लागि झिसमिसेमै उठेर सबैभन्दा पहिले कोठादेखि आँगनसम्म सफा गर्छन् ।
दिनभर पूर्ण उपवास बसी दोस्रो दिन साँझ उपासक एवं परिवारजनले खिर, पुरी पकाउँछन् । रातिपख एक कोठालाई लिपपोत गर्छन् । भुइँमा केराको पात फिँजाएर त्यसमाथि ती पकवान र केरा लगायतका गुलियो प्रसाद राखी मौन रूपले छठ माताको आराधना गर्छन् । स्थानीय भाषामा यसलाई ‘खरना’ भनिन्छ । छठमा सूर्य र उनको देवीरूप उषाको छठी मैयाको रूपमा पूजा हुन्छ । षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले छठ, छैठ, छइठ र छठी भनिएको हो ।
पूजापछि सबैभन्दा पहिले व्रतालुले प्रसाद खान्छन् । तिनले अरु केही खाँदैनन् । उपस्थित परिवारजन र छरछिमेकीलाई समेत यो प्रसाद बाँडिन्छ । बिहानीको व्यग्र प्रतीक्षामा मुख्य उपासक महिलासहित सबैजना चाँडो सुत्छन् । तेस्रो दिन बिहानै उठ्छन् । यो चार दिवसीय पर्वको यो मुख्य दिन हो । सपरिवार र सहयोगी मिलेर गहुँ एवं चामलको पिठोबाट क्रमशः छठको चर्चित प्रसाद ठेकुवा, भुसुवा तथा पुरी पकाउँछन् । ल्वाङ, सुकुमेल, किसमिस, काजु, नरिवल, दालचिनी र छोकरा लगायतका सामग्री मिसाएर शुद्ध घिउ वा तेलमा पकाइने यी पकवानको मगमग वासना सर्वत्र फैलिन्छ । पुरा वातावरण छठमय हुन्छ ।
प्रसाद बनाइसकेपछि घाट अर्थात् जलाशय किनारतिर जाने तयारी जोडतोडसाथ हुन्छ । मुख्य उपासक र परिवारजन नयाँ लुगा लगाउँछन् । घरको आँगनलाई पुनः एकपटक जल छर्केर चोख्याउँछन् । श्रीमान एवं सन्तानको संख्या अनुरुप पहिलादेखि तयार राखेको कोनिया अर्थात् बाँस वा पित्तलको नाङ्लो र ढाकीलाई आँगनमा फिँजाउँछन् । ती कोनियालाई ठेकुवा, भुसुवा, पुरी, गेडागुडी, फलफूल एवं तरकारीले सजाउँछन् । दीपधुप बालेर सबैभन्दा पहिले घरमै पूजा गर्छन् । यसपछि ती नाङ्लोलाई ढाकीभित्र राखेर सफा कपडाले बाँध्छन् । ढाकीको एक छेउमा बलिरहेको दीयो राखिन्छ । एकजनाले ढाकीलाई शिरमा बोक्छन् । व्रताइन अर्थात् व्रतालुको नेतृत्वमा सबैजना लोकगीत गाउँदै आफूलाई सहज हुने जलाशय किनार (घाट) तिर लाग्छन् । धुप, दीप बालेर अनुष्ठान सुरु गर्छन् । परिवारको तर्फबाट उपवास बसेका व्रतालु अस्ताइरहेको सूर्यपट्टि फर्की जलाशय किनारमा खडा हुन्छिन् । परिवारजनले नाङ्लोभित्र र बाहिर रहेका हरेक पूजन सामग्रीलाई उनको हातमा राख्दै दूध/जलको अर्घ्य दिन्छन् ।
सूर्य अस्तसँगै यो महत्त्वपूर्ण दिनको समापन हुन्छ । नजिकै घर भएका पूजन सामग्री बाँधी घरकोठा फर्कन्छन् । टाढा–टाढाबाट आएका घाटमै आश्रय लिन्छन् । स्थानीय छठ पूजा व्यवस्थापन समितिले टेन्ट गाडेर बस्ने प्रबन्ध मिलाएका हुन्छन् । रात काट्न सजिलो होस् भनेर विविध सांस्कृतिक गतिविधिको समेत आयोजन हुन्छ ।
चौथो एवं अन्तिम दिन बिहान परिवारजन पुनः घाटमा भेला हुन्छन् । साँझको विधिझैं बाँस वा पित्तलको भाँडाकुँडामा सजाएर राखिएको पूजन सामग्रीसहित जलाशय किनारमा हात उठाएर सूर्यको आराधना गरेपछि मात्र यो पर्व सकिन्छ । साँझ एवं बिहानको यो पूजालाई क्रमशः सझिया घाट वा सझिया अर्घ्य र भोरका घाट वा भोरका अघर््य भनिन्छ ।


यस पर्वमा पुजारी भने चाहिँदैन ।
लगातार चौथो दिनसम्म व्रतालुको उपवास जारी रहने हुनाले यसलाई कठिन व्रत मानिन्छ । बिहानको अर्घ्यपछि व्रतालुले प्रसाद खाई उपवास तोड्छन् । घाटमा आफ्नो वरिपरि भेला भएकालाई पनि प्रसाद वितरण गर्छन् । सबै जाति, उमेर, धर्म, लिंग, दल, वर्ग र सम्प्रदाय सहभागी हुने यो समावेशी पर्वमा घरका ज्येष्ठ र स्वस्थ महिलाले पूजाको नेतृत्व गर्छिन् ।
घरमा कुनै अप्रिय घटना भएमा वा कसैको मृत्यु भएमा यो पर्व गरिन्न । तर अन्य कुनै पनि प्रकृति विपदाले यो पर्व रोकिन्न । किनकि अर्को वर्ष गर्दा दोब्बर पूजन सामग्रीसहित पूजा सुरु गर्नुपर्छ । यसमा दोब्बर खर्च र श्रम लाग्छ । यो सम्पन्नदेखि विपन्नसम्मले मनाउने बहुजातीय एवं बहुसांस्कृतिक अनुष्ठान हो । घरमा ठेकुवा एवं भुसुवा लगायतका प्रसाद तयार गर्नुदेखि
घाटमा अर्घ्य दिने बेलासम्म छरछिमेकसमेत सहयोग गर्न आइपुग्छन् । आर्थिक रूपले असक्षमले भिख मागेरै पनि खुसी एवं गर्वसाथ यो पर्व मनाउँछन् । आफैले गर्न नसक्नेले चिनेका व्रतालुलाई सामग्री किनेर दिई पूजामा सहभागी हुन्छन् । घरदेखि जलाशय किनारसम्म प्राचीन बस्तीको जस्तै रमझम हुने यस पर्वमा सहभागी हुँदा र प्रसाद मागेर खाँदा पूजा गरेजत्तिकै धर्म हुने विश्वास गरिन्छ ।
[email protected]

Page 7
विविधा

एक चोक्टा मासुको कहर

 

मान्छे सर्वभक्षी अर्थात साकाहारी एवं मांसाहारी दुबै बन्नुमा सकारात्मक एवं नकारात्मक दुबै पक्ष छन् । नेपालमा मासु खाँदा अन्यत्रजस्तो अलग्गै हातले छामेर खाने बाहेक चोक्टा या झोल भातसंँग मोलेर खाने या झोल पिउने बानी छ । जसका कारण विशेषगरी चोसो परेका साना हड्डीहरू खाने नलीमा अडकिन सक्छन् ।
अस्पतालहरूमा हड्डी अड्केर आउनेको संख्या बढ्दो छ । मासु खाने बेलामा हतार गरिए या होसियार नपुर्‍याइए एक टुक्रा हड्डी पनि शरीरका लागि घातक बन्न सक्छ । गत दसैंमा एकजना गायकको परिवारमा यस्तै एक चोक्टा मासुमा भएको हड्डी अभिसाप बन्यो । दसैंमा भातसंँग निलेको मासुमा दुईतिर चोसो परेको हड्डी पनि परेछ । हड्डी माथिल्लो बंगाराको बीचको दाँतबाट ३६ सेमिको दूरीमा आमाशयसँंग जोडिने बिन्दुभन्दा करिब ४ सेमि माथि खाने नलीको तल्लो भागमा अड्किएछ । खाने नलीको तल्लो भागमा अड्किएकाले खाने बित्तिकै माथिल्लो पेट अर्थात आमाशय दुख्न थालेछ, जसलाई ग्यास्ट्रिक सम्झी केही दिन एन्टासिड झोल औषधि दिने काम भएछ । तीन दिनसम्म पनि दुखाइ कम नभएपछि पेटरोग विशेषज्ञद्वारा इन्डोस्कोपी गराउँदा खाने नलीको तल्लो भागमा दुबैतिर कोपेर तेर्सो परेर हड्डी रहेको यकिन भएछ ।
खाने नलीको तल्लो भागको अघि र पार्श्वमा मुटु र फोक्सो रहेको हुनाले त्यहाँ घातक संक्रमण फैलिन थालेछ । यो अवस्थालाई मेडिआस्टिनाइटिस नामको गम्भीर संक्रमण भनिन्छ, जुन अवस्थामा पचास प्रतिशतभन्दा बढीको अकालमा मृत्यु हुने सम्भावना रहन्छ । ती गायकका छोराको संक्रमित खाने नलीको भाग नै काट्नुपरेको छ । त्यसलाई तल्लो खाने नलीसँग जोड्न पनि निकै ठूलो शल्यक्रियाको जरुरत छ, जुन निकै जोखिमपूर्ण हुन्छ । दसौं लाख खर्च र महिनौंको उपचारको बावजुद पनि सुनिश्चित गर्न सकिन्न । यदि मासु र भात खाँदा छामेर खाने हो भने अड्किने बित्तिकै केही नखाई परीक्षणमा लाग्न सकिन्छ ।
घाँटी भन्ने बित्तिकै निल्ने, सास फेर्ने र बोली निस्कने नली या बाटो भन्ने बुझिन्छ । घाँटीको खाने नली अर्थात इसोफेगस माथिल्लो बंगाराको बीचको दाँतबाट १५ सेमिको दूरीबाट सुरु हुन्छ भने यो आमाशय अर्थात पेटमा जोडिन्छ । खाने नलीको कुल लम्बाइ २५ सेमि हुन्छ । खाने नलीमा हड्डी लगायतका अन्य नरम वस्तुहरू पनि अड्किने कारण यसको मांसपेशीको खुम्च्याइ, मुटु, नसा र श्वास नलकिो थिचाइ पनि हो । त्यसैगरी मांसपेशी र झिल्ली पत्रहरूबाट बनेको खाने नलीको बाटोमा केही कमजोर ठाउँहरू हुनसक्छन्, जुन बाह्य वस्तुले सजिलै छेडिन सक्छ । र त्यस्ता ठाउँमा वस्तुहरू सजिलै अड्किन सक्छन् ।
धेरैजसो तिखा वस्तुहरू माथिल्लो भागमै अड्किएर घाँटीमा निल्न अप्ठ्यारो हुने भएकाले बिरामीले मुखबाट केही नलिई उपचार खोज्ने गरिन्छ । त्यसो नगरी जबर्जस्ती निल्न खोजे स्थिति झनै गम्भीर बन्न सक्छ । घाँटीको अघिपछि र पार्श्वबाट खिचिएका सामान्य एक्सरेहरूबाट पनि हड्डी लगायतका धातुजन्य वस्तुहरू सहजै यकिन गर्न सकिन्छ ।
तर घाँटीमा अड्किएका सबै वस्तु एक्सरेबाट पत्ता नलाग्न सक्छ । जस्तो हड्डी बिनाको मासुको चोक्टा, गैरधातु, प्लास्टिकजन्य वस्तु र माछाको काँडाजस्ता वस्तुहरू केही दिनमा संक्रमणका कारण हावाको तह नबन्दासम्म एक्सरेमा नदेखिन सक्छ । यस्तो अवस्थामा इन्डोस्कोपी या विशेष प्रकारको डाई (ग्यास्ट्रोग्राफिन) सहितको एक्सरे गर्न सकिन्छ । त्यसैगरी घाँटीको माथिल्लो भागमा अड्किने माछाका काँडाहरू एक्सरेबाट देख्न सकिन्न । खाने नलीभन्दा माथि अर्थात ओरोफ्यारिंग्स या हाइपोफ्यारिंग्समा भन्दा खाने नली अर्थात इसोफेगसमा कुनै वस्तु अड्किँदा त्यो बढी हानिकारक हुन्छ ।
चुच्चो नपरेको र सिधा परेका सानातिना हड्डी लगायतका बाहिरी वस्तुहरू खतराजनक नहुन सक्छन् । चुच्चो नपरेको ठाडो परेका साना हड्डीदेखि बच्चाले निल्ने सम्भावना भएका टाँक, पैसा, गुच्चाभन्दा चुच्चो, चोसो परेका हड्डी, सियो, कृत्रिम दाँतजस्ता तिखा वस्तु घातक हुनसक्छन् । त्यसैगरी पेटभित्र पुगेर अम्लीय रासायनिक पदार्थ निष्कासन गर्ने ब्याट्रीहरू पनि घातक बन्न सक्छन् । खाने नलीमा हड्डी लगायतका वस्तुहरू मात्रै होइन, विशेषगरी बच्चा एवं वृद्धवृद्धाहरूको श्वास नली एवं फोक्सोमा समेत बाह्य वस्तुहरू अड्किन सक्छ । त्यसैगरी बच्चाहरूले सिठ्ठी तान्दा फोक्सोमा पुग्ने डर हुन्छ । विशेषगरी दुधेदाँत नउम्रिएका तीनदेखि चार वर्षसम्मका बच्चाहरू सकभर चुइंगम, पिज्जा, रबरयुक्त वस्तुहरू, बदाम, सुपारी लगायतका कडा गेडागुडी निल्न दिनुहुन्न । त्यसैगरी नानीहरू एवं वृद्धावृद्धाहरूलाई कहिल्यै पनि सुताएर मुखबाट खान दिनुहुन्न । झनै सुतेको अवस्थामा केटाकेटीहरूको मुखमा कुनै पनि बस्तु राखिदिनुहुन्न । साथै केही खाँदाखाँदै अचानक दुख्न गए या घाँटीमा केही अड्किएको जस्तो अप्ठ्यारो हुनगए जबर्जस्ती निल्न हुन्न । बरु परीक्षण र एक्सरे गर्नुपर्छ । एउटा हड्डी या धातुको टुक्रा घातक बन्न सक्छ । एकछिनको हतारले ज्यान जोखिममा पर्न सक्छ । राम्रोसंँग चपाएर मात्र खानुपर्छ, जसले खाना पच्न पनि सहज हुन्छ ।

प्रा. ढुण्डीराज पौडेल
लेखक नाक, कान, घाँटी विशेषज्ञ हुन् ।

विविधा

'मलाई केको डर ?'

- मधुकर उपाध्या

टोले सडकको सानो घुम्तीमा एकाबिहानै घुइँकिएर गाडी आएको सुनी अलि वरै साइकल रोकेर पर्खेँ । म छेउ आइपुगेपछि बाटो नपुगेर गाडी रोकियो । मैले हाँसेर ड्राइभरलाई सोधेँ, ‘यति साँघुरो बाटोमा बच्चा, बुढाबुढी बाटो काट्दै हुन सक्छन्, त्यस्तो तीव्र गतिमा आउँदा टर्निङमा डर लागेन ?’ अचानक कसैले यस्तो सोधेकाले पहिले त उसले कुरो बुझेन । उसले सिसा तल गरेर ‘के भन्नुभएको’ भनेपछि मैले उही प्रश्न दोहोर्‍याएँ । २०/२५ वर्षका देखिने उनले मुखको मास्क तल गर्दै खिस्स हाँसेर उल्टै प्रश्न गरेजस्तै गरी ढुक्कै भने, ‘केको डर ?’ गल्ली जत्रो १४ फुटे बाटोमा तर्साउनेगरी अनावश्यक तीव्र गतिमा गाडी कुदाएकाले रिसाउँदै सोध्न सक्थेंँ, तर त्यसो गरिनँ । कारण, अब त विरोधीलाई पनि ‘विरोधी साथीहरू’ भनेर सम्बोधन गर्ने समय आएको छ । त्यसैले यी चालक साथीलाई हाँसेरै सोधेंँ, जवाफ पनि हाँसेरै पाएँ । जब ‘डर नै छैन’ भनिसकेपछि कुनै जिज्ञाशा बाँकी रहेन । गाडी आफ्नो सुरमा अगाडि बढ्यो, म पनि साइकलमा अघि बढेँ ।
उनको जवाफले तत्काल त कस्तो निडर चालक रैछ जस्तो ठानेंँ । तर गुन्दै लाँदा त उनको यो ‘केको डर’ भन्ने जवाफ, निडरभन्दा पनि हाम्रा व्यवहारमा देखिने तर चित्त नबुझ्ने धेरै प्रश्नहरूको उत्तर थियो । हाम्रो सामाजिक सोचको एउटा झलक थियो । सायद ‘जे पर्ला सोही टर्ला’ वा ‘देखा जाएगा’ भन्ने सोचको अभिव्यक्ति थियो, जुन हेपाहा प्रवृत्तिको अभिव्यक्ति पनि हो ।
सामान्यतया डरलाई राम्रो मानिँदैन । अझ उस्तै परे ‘छोरा मान्छे भएर डराउन हुँदैन’ भनेको पनि सुनिन्छ । तर डरको मनोविज्ञानले भन्छ— डर मान्नु भनेको काँतर हुनु कदापि हैन । प्राणीको अस्तित्व वृत्ति (सरभाइभल इन्सटिङक्ट) को प्रमुख पक्ष हो, डर । डरले परिआउन सक्ने प्रतिकूल परिस्थितिको आंँकलन गरी सो बमोजिम व्यवहारमा परिवर्तन गर्दै आफूलाई सुरक्षित राख्न सघाउँछ । सचेतना र सतर्कतालाई बढाउँछ । प्रतिकूल परिस्थितिको सामना गर्दै निर्दिष्ट लक्ष्यका लागि अगाडि बढ्ने युद्ध विजेता, साहसी नाविक वा पर्वतारोहीजस्ता व्यक्तिहरूलाई हामी निडर भन्छौँ । अरुले हिम्मतसम्म गर्न नसक्ने परिस्थितिमा आफूलाई होमेर सफल हुनसक्नुको कारण उनीहरू निडर भएर होइन, प्रतिकूल परिस्थितिको आंँकलन गरी गणनात्मक (क्यालकुलेटिभ) जोखिम उठाउने आँट भएर हो ।
जिम्मेवारीको बोधले डर पैदा गराउँछ । एक हदसम्मको डरको भावनाले फाइदा नै पुर्‍याउँछ । विद्यार्थीलाई परीक्षाको डर, उद्योगीलाई सामान नबिक्ला भन्ने डर, व्यापारीलाई हुनसक्ने नोक्सानको डर नहुँदो हो त के हुन्थ्यो, सहजै अनुमान गर्न सकिन्छ । दैनिक जीवनमा त कुनै फरक काम गर्नुपरे जोरीपारीले के भन्ला भन्ने डरले हाम्रा कतिपय व्यवहार बाँधिएका हुन्छन् भने सार्वजनिक जिम्मेवारी लिएकाले त झनै डर मान्नुपर्छ । डरले मानिसलाई अनुशासित हुन प्रेरित गर्छ, ठीक बाटोमा हिँडाउन सघाउँछ । डरले सतर्क राख्न सिकाउँछ । मन्दिरमा पकेटमारको डरले सतर्क हुँदा होस् वा धारामा पानी सुक्ने डरले हत्तपत्त आवश्यक पानी थापिहाल्ने हतारोले होस्, डरले हुनसक्ने नोक्सानबाट जोगाउँछ । डरले आउने परिस्थितिको सामना गर्न मानसिक र भौतिक रूपमा तयार रहन सघाउँछ ।
मैले सामना गरेका ती जवान ड्राइभर भाइ कुनै स्कुलको सानो मारुती भ्यान चलाउँछन् र सम्भवतः नर्सरी र के.जी.मा पढ्ने साना साना नानीहरूलाई लिन बिहान घरघरै पुग्छन् । मोडैमोड भएका १४ फुटे बाटोभित्र भएका घरहरूमा बेलैमा पुगेर सबै नानीहरूलाई लिएर बेलैमा स्कुल पुग्नु उनको बाध्यता हो भन्ने बुझ्न सकिन्छ । त्यसमा पनि बिहान टोले सडकमा खासै मानिसको चहल–पहल नहुने भएर होला, उनमा दुर्घटनाको डर कम भएको । तर ‘केको डर’ भन्ने जवाफबाट उनले अनावश्यक जोखिम मोल्दै गाडी कुदाएकोमा भने सहमत हुने कुरो भएन । भोलापनले ढाकेको उनको अति आत्मविश्वासले निम्त्याउने भनेको दुर्घटना नै हो । यदि कुनै दिन टर्निङमा कुनै कारणले अचानक ब्रेक लगाउनुपर्‍यो भने भ्यानभित्रका ती साना–साना स्कुले नानीहरूको हालत के होला ? न स्कुल, न अभिवावकहरूबाट भ्यानको गतिबारे कुनै चासो भएको देखिन्छ । किनकि उक्त भ्यानसंँगको मेरो यो जम्काभेट पहिलो थिएन । हुन त टोले सडकमा तीव्र गतिमा गाडी कुदाउनेमा यो भ्यानमात्र हैन, पानीको जार बोक्ने गाडीदेखि मोटरसाइकलहरूको शैली पनि त्यस्तै हुन्छ । स्कुलको भ्यानले सोच्न बाध्य पारेको कारणचाहिँ त्यही ‘केको डर’ भन्ने सोचले नर्सरी र के.जी.मा पढ्न जाने साना–साना नानीहरू समेतलाई अनावश्यक जोखिममा पारेको जस्तो देखिएकोले हो ।
डर नहुनु भनेको आउने क्षणमा के हुनसक्छ भन्ने सम्भावनाको आंँकलन गर्ने क्षमता नहुनु पनि हो । फलतः भवितव्य केही भइहाल्यो भने नोक्सान अकल्पनीय भइदिन्छ । तर हामी सायद आफूलाई अपवाद ठान्छौं, त्यसैले दुर्भाग्यका घटना ‘अरुलाई हुने कुरो हो, मलाई हैन’ भन्नेजस्तो गरी व्यवहार गर्छौं । यही कारण सुरक्षाका सवालमा, सतर्कताको विषयमा वा सार्वजनिक स्थानमा निर्वाह गर्नुपर्ने आफ्ना कर्तव्यबारे हामी या त अनभिज्ञ देखिन्छौँ या त्यस्ता विषय ध्यान दिनुपर्छ भन्ने ठान्दैनौं । यसका उदाहरण सडकमा प्रत्येक क्षणजस्तै देख्न सकिन्छ । पैदल यात्रुलाई हेप्दै गुड्ने गाडीदेखि मोटरसाइकल, ठाउँ—कुठाउँ रोक्दै यात्रु चढाउने सार्वजनिक यातायात र एकहातले गाडीलाई पर्खने इसारा गर्दै ढुक्कैले जताततैबाट बाटो काट्ने बटुवासम्मले सुरक्षा र सतर्कताको विषयमा आफूलाई अपवाद नै ठानेको देखिन्छ । यस्ता व्यवहार सडकमा मात्र सीमित छैन । चाहे बाढीले बगाएर ल्याएको दाउरा टिप्न जाँदा ज्यान गुमाउँदा होस् वा रातको समयमा राजमार्गमा पार्किङ गरिराखेको गाडीमा ठोक्किएर ज्यान गुमाउँदा होस्, ‘सुरक्षा पहिले’ भन्ने सम्झने हो भने अनाहकमा ज्यान गुमाउनु पर्दैन ।
डरको कमी साना नानीहरूलाई घरबाट सुरक्षित स्कुल ल्याउने–पुर्‍याउने जिम्मा लिएका (यहाँ दृष्टान्तका रूपमा लिइएका) चालक साथीमा मात्र हैन, सायद जनताको समृद्धिका लागि महत्त्वपूर्ण निर्णयहरू गर्ने जिम्मा लिएका व्यक्तिहरूमा पनि देखिन्छ, जसका कारण सर्वसाधारणको दैनिक जीवनसँग जोडिएका र विभिन्न प्राकृतिक घटनामा पर्ने पीडितहरूको कष्ट कम गर्न सकिएको छैन । यस वर्ष मूल सुकेको धेरै गाउँमा वर्षामा समेत पानीको हाहाकार भयो । मनसुन १ महिना ढिला हुँदा बेलामा धान रोपाइँ हुन सकेन । साउनमा खडेरी परेको स्थानमा खेती सुके । थुप्रै स्थानमा फौजीकिराले मकै र धान स्वाहा पारे । बाढीले गौर निरन्तर डुबानमा पर्‍यो । केही जिल्लामा पहिरोले गाउँ पुर्‍यो । तीव्र हावाहुरीले बारामा धनजनको नोक्सान भयो । उल्लेखित घटनाहरू उदाहरणको रूपमा किन लिइएको हो भने ती सबै यस वर्ष घटेका घटना हुन्, जसका कारण थुप्रै सर्वसाधारणले ठूलो मात्रामा क्षति व्यहोरे । डर मान्नुपर्ने के हो भने त्यस्ता घटनाहरू आगामी वर्ष पनि दोहोरिन सक्छन् ।
त्यसैले आउने चैत—बैसाखमा गाउँ–गाउँमा पानीको हाहाकार भए के गर्ने ? फेरि पनि साउनमा खडेरी परे के गर्ने ? पहिरोले गाउँ पुर्‍यो भने के गर्ने ? टोरनेडो जस्तो तीव्र हावाहुरी फेरि आयो भने के गर्ने ? यस्ता विषयबारे समृद्धिका लागि महत्त्वपूर्ण निर्णयहरू गर्ने जिम्मा लिएका व्यक्तिहरूले अहिलेदेखि डर मान्ने हो भने त्यस्तो परिस्थितिका लागि मानसिक र भौतिक रूपले तयारी गर्न पक्कै सघाउँछ । अन्यथा त्यस्ता घटना फेरि के दोहोरिएला र ? वा दोहोरिहाले ‘देखा जाएगा’ भन्ने प्रवृत्तिले ती घटना फेरि भएमा त्यस्तो अवस्थामा निर्णयहरू तदर्थ रूपमा लिनुपर्ने हुन्छ । जसका कारण गर्नुपर्ने काम पनि तदर्थ रूपमै हुन्छ, क्षतिको विवरण पनि पूर्णरूपमा लिन सकिँदैन । यस अर्थमा ‘केको डर’ भन्ने सोच हाम्रो प्रगतिको ठूलो तगारो हो कि झैँ लाग्छ ।

विविधा

अनि आक्रोशित देखिन्छन् मान्छेहरू

- डा. कृष्णबाबु श्रेष्ठ

ए क्काइसौँ शताब्दीकै विशेष उपलब्धिको रूपमा लिन सकिने सामाजिक सञ्जालप्रति नकारात्मक अभिव्यक्तिहरू छताछुल्ल हुनथालेका छन् । कतिपय विद्वानहरूले यसलाई असामाजिक सञ्जालसमेत भनिदिएका छन् । सञ्जालमा हुने आलोचना र टिप्पणी बढी मात्रामा व्यक्ति केन्द्रित र आक्रोशपूर्ण देखिएको हो कि जस्तो भान हुन्छ । आलोचनामा हतारो बढी देखिन्छ, जसले तथ्यहीन, सतही र हचुवा पाराका खबरहरूको दबदबा बढिरहेको देखिन्छ । यस्तो अवस्था समग्र समाजको लागि खराब संकेत हो । तर धेरैले बुझेजस्तो सञ्जालले खराब वा नकारात्मक माध्यमको रूपमा मात्र काम गरिरहेको चाहिँ सत्य हैन । बरु मान्छेको नकारात्मक गतिविधि र समाचारप्रतिको बढ्दो चासोले यसका अनेकौँ योगदान र सकारात्मक पक्ष छायामा परेको हो ।
समाजमा सञ्जालका विविध रूपहरू सदाकाल जीवित छन् । अहिलेकै सञ्जालको स्वभाव बोकेको गतिविधि हिजोका दिनहरूमा हाम्रा चौतारा, पँधेरा, चिया पसलका भेटघाट, बसिबियाँलोमा सीमित थियो । अरुको चियोचर्चो, टिकाटिप्पणी गर्ने मानिसको स्वाभाविक चरित्र हो । सामाजिक भेटघाटलाई मानिसहरूले यस्तो अवसरको रूपमा लिने गर्छन् । यद्यपि यस्ता कार्यहरूले कतिपयको व्यक्तिगत जीवनमा प्रतिकूल असरसमेत पुर्‍याएको हुन्छ । तर मान्छेले यस्तो टिकाटिप्पणीको बानी त्याग्न सक्दैन । वैज्ञानिकहरूका अनुसार मान्छेमा निहित यस्तो चरित्रको लागि ‘फक्स पि टु’ नामक वंशाणु नै जिम्मेवार हुन्छ । यसैको उत्प्रेरणाले नै मान्छेले (बोल्ने) भाषाको विकास गर्नसकेको बताइन्छ । तसर्थ सामाजिक सञ्जाल समाजको सदृश चरित्र र मान्छेको वास्तविक मनोदशाको प्रतिविम्ब हो । अहिले त्यसले नूतन प्रविधिको आधारमा फराकिलो रूप ग्रहण गरेको मात्र होस्, फेसबुक, टुइटर, युट्युब आदिको रूपमा । अहिले संसारभरिकै सबै तह र तप्काका इच्छुक (सबै) मानिसहरूलाई एकै ठाउँमा भेला भएर अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न पाउने अवसर प्राप्त भएको छ, जुन चानचुने कुरा अवश्य हैन ।
नेपालकै हकमा समेत पछिल्ला दिनहरूमा सञ्जालले ‘नेपाल बन्द’, टायर बाल्ने, रेलिङ भाँच्ने, जुलुस, हड्तालजस्ता भौतिक स्वरुपका आन्दोलनभन्दा कैयौँ गुणा ठूलो शक्ति आर्जन गरेको हामीले महसुस गर्न थालेका छौँ । निर्मला हत्याकाण्डदेखि ‘केसी’ आन्दोलनसम्मका पछाडि सञ्जालको पुठ थियो भन्न अप्ठ्यारो मान्नु परोइन । मिहिन तरिकाले हेर्ने हो भने भौतिक द्वन्द्व र त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित भौतिक क्षतिलाई यसले वैचारिक अन्तरक्रिया, बहस (घोचपेच नै किन नहोस्) मा रूपान्तरण गरेको छ । जसको मूल्य सामान्य आँकलन गर्न मिल्दैन । त्यसो भए सञ्जालप्रतिको नकारात्मक बुझाइ अनावश्यक हो ? वा आधारहीन हो ?
सामाजिक सञ्जाल अहिलेको युगमा संसारलाई हेर्ने र बुझ्ने मुख्य माध्यम बनेको छ भन्नु अन्यथा नहोला । राज्यका तप्का, विचार निर्माणका मुख्य हकदार (विश्वविद्यालय, अनुसन्धान संस्थाहरू), नागरिक तह एवं सबका सब सञ्चार माध्यमहरू सञ्जालमा जोडिन बाध्य छन् । तर अहिलेको दृश्यले सञ्जालमा भ्रमपूर्ण विचारहरू हावी रहेको हो कि भन्ने प्रतित हुन्छ । यसको एउटा मुख्य कारण नागरिक तहमा पुगेको सञ्चारको पहुँच पनि हो । यसले सञ्चारको मूल्य र मान्यता थाहा नभएका व्यक्तिलाई समेत सञ्चारकर्मीको हैसियत प्राप्त भएको छ । यसो हुँदा आफ्नो सामग्रीलाई विश्वसनीय र गुणस्तरयुक्त बनाउनेभन्दा पनि ‘क्लिक र भिउज’ ले प्राथमिकता पाएको छ । यस्ता समाचारमा नकारात्मक गतिविधिको आधिक्य देखिनु स्वाभाविक हो । नकारात्मक समाचारहरूमा मानिसको ध्यान बढी जाने हुनाले सञ्चार माध्यमहरूको प्राथमिकता त्यस्तैमा बढी देखिन्छ । यस्तो समस्या विश्वका हरेक समाजमा छ । समाजको चित्र उतार्न, घटनाहरूको पर्दाफास गर्न, सत्य–तथ्य कुराहरू जनसमक्ष ल्याउन सञ्चार माध्यमहरूको भूमिका अहम् हुन्छ । कतिपय अवस्थामा भने सम्बन्धित सञ्चारकर्मीहरूको बुझाइमा समस्या रहेको अबस्थामा (नियतवश नभए पनि) उनीहरूले पस्कने गलत तथ्यका कारण कुनै पनि समाजको यथार्थभन्दा फरक र विद्रुप चित्र तयार भैरहेको हुनसक्छ ।
सामाजिक सञ्जाललाइ मात्र आधार मानेर विश्वब्यापी रूपमा घटिरहेका पछिल्ला घटनाहरूलाई गहिरोगरी केलाउने हो भने मान्छेहरूमा आक्रोश र निराशा बढिरहेको भान हुन्छ । मानिसहरू वर्तमान भोगिरहेका हुन्छन्, उसलाई आफूले भोगिरहेको समस्या नै सबैभन्दा ठूलो लाग्छ । उसलाई लागिरहेको हुन्छ, सबै नकारात्मक, असहज र विद्रुप घटनाहरू आफ्नै वरिपरिमात्र घटिरहेका छन् र आफू बाँचेको समाज सबैभन्दा खराब छ । कतिपय मानिस आजभन्दा हिजोका दिनहरू राम्रा भएको सन्देश दिइरहेका छन् र त्यस्तो बुझाइ राख्छन् । त्यही आधारमा ‘मेक अमेरिका ग्रेट अगेन’ नारा लिएर अमेरिकामा ट्रम्पको उदय भयो । ब्रिटेनमा ‘ब्रेक्सिट’ विजयको आधार पनि यस्तै बुझाइ थियो । यही र यस्तै बुझाइको जगमा थुप्रै देशमा अनुदार दक्षिणपन्थीहरूको लोकप्रियता केही हदसम्म बढेको देखियो । तर अहिलेका केही दिग्गज विचारकहरू यस्तो बुझाइलाई भ्रमपूर्ण मान्छन् । हार्वड विश्वविद्यालयका प्राध्यापक ‘स्टिभेन पिन्कर’ आफ्नो पुस्तक ‘एन्लाइटमेन्ट नाउ’ मा झन्डै ७१ वटा तथ्यांक चित्रको सहयोगमा अहिलेको अवस्थालाई विश्व इतिहासका कुनै पनि कालखण्डको तुलनामा शान्तिपूर्ण, समुन्नत र सुखी दाबा गर्छन् । तसर्थ तथ्याङ्कले देखाउने वास्तविक संसारभन्दा मानिसहरूले बुझिरहेको संसार धेरै फरक छ ।
१९८९ मा बर्लिन पर्खाल ढलेपछिका दिनहरूमा उदार पुँजीवाद र लोकतन्त्रको विस्तारमा ठूलो उपलब्धि हासिल भयो । विश्व स्तरमा समावेशिता, गरिबी निवारण, मातृ एवं शिशु मृत्युदरमा उल्लेख्य सुधार, शिक्षामा आम जनताको पहुँच, औसत आयुमा वृद्धि लगायत थुप्रै उपलब्धिहरू प्राप्त भयो । यस बीचमा मानव समाजबीच सद्भाव र अन्तरघुलनमा समेत विश्वले ठूलै उपलब्धि हासिल गरेको छ । तर कतिपय पश्चिमा मुलुकमा तेस्रो विश्वका मानिसहरूको आकर्षण र प्रवेश बढेपछि रैथाने आदिवासीहरू परम्परागत मूल्य–मान्यता भत्किन थालेकोमा चिन्तित भए । पूँजीवादले पैसालाई मात्र मुख्य महत्त्व दिँदा सामाजिक न्यायसहितको समाज निर्माणमा अवरोध सिर्जना भयो । जलवायु परिवर्तनका कारण उत्पन्न भैरहेका र भविष्यमा आउन सक्ने संकटबाट मानिसहरू आतंकितजस्ता देखिए । धेरैभन्दा धेरै देशहरू आर्थिक प्रगतिको बाटोमा भए पनि धनी र गरिब बीचको असमानता थेग्नै नसकिने ढंगले बढिरहेको मानिन्छ । यी सबै कारणको प्रतिक्रियास्वरुप मानिसहरू थुप्रै समूहमा असन्तोषपूर्ण ढंगले आक्रोश व्यक्त गरिरहेका छन् । भारतीय लेखक पङ्कज मिश्रले माथि उल्लिखित तथ्यको सेरोफेरोलाई समेटेर आफ्नो पुस्तकमार्फत अहिलेको अवस्थालाई ‘आक्रोशको युग’ का रूपमा चित्रित गर्न खोजेका छन् । तर मानिसहरूमा व्याप्त आक्रोश र निराशाका पछाडि उनीहरूको भ्रमपूर्ण बुझाइसमेत मुख्य कारक हुनसक्छ ।
स्वीडेनका प्राध्यापक (स्व.) हान्स रोसलिङ (ओला र अन्ना सहित) ले आफ्नो चर्चित पुस्तक ‘फ्याक्टफुलनेस’ मा मान्छेका १२ सहज, तर खराब चरित्रबारे तथ्याङ्कसहित व्याख्या–विश्लेषण गरेका छन् । यस्तो चरित्रका कारण सामान्यका कुरा छोडौँ, नीति निर्माण तहका उल्लेख्य पंक्तिसमेत भ्रमपूर्ण बुझाइबाट ग्रसित हुनपुगेका छन् । पुस्तकका अनुसार, ‘संयोगले भएका कतिपय कामका लागि हतारोमा हामी व्यक्तिको देवत्वकरण गर्छौं र भविष्यमा उसबाट निरन्तर त्यस्तै राम्रा कामको अपेक्षा गर्छौं ।’ उही व्यक्तिबाट सधैँ राम्रो काममात्र हुन्छ भन्नु यथार्थभन्दा बाहिरको कुरा हो । किनकि मान्छेबाट गल्ती नहुन सम्भव छैन र सधैं ऊर्जावान रहन पनि सम्भव छैन । किनकि मान्छेमा क्षमताको सीमितता हुन्छ । हामी सबैले भोगिआएको वास्तविकता हो यो । संयोगवश भैरहेका राम्रा कामको कारण कुनै व्यक्ति विशेषको हतारमा देवत्वकरण हुने, उसबाट सधैं त्यही स्तरको अपेक्षा राखिने, पूरा हुन नसक्दा फेरि दानवीकरण गरिहाल्ने परिपाटी हावी छ ।
रोसलिङले आनो पुस्तकमा मान्छेमा निहित ‘दोषारोपणको सहज प्रवृत्ति’ बारे पनि व्याख्या गरेका छन् । उदाहरणका लागि कुनै जिम्मेवार पदमा रहेको व्यक्तिले खराब काम गरेको समाचार आउँछ । उसमाथि अन्धाधुन्द प्रहार हुन्छ, खलपात्र घोषित गरिन्छ । तर हामी हेक्का राख्दैनौँ कि हाम्रो प्रणालीमा रहेको त्रुटि र छिद्रका कारण नै उक्त व्यक्ति त्यो स्थानमा पुग्न सफल भएको हो । यतिबेला हाम्रो प्रहार र ध्यान, प्रणालीको त्रुटितिर बढी मात्रामा केन्द्रित हुनुपर्ने हो, अक्सर त्यस्तो हुने गरेको छैन । बरु सामान्य अवस्थामा प्रणाली स्थापनाका लागि जिम्मेवारीमा रहेको व्यक्तिलाई समेत अक्सर गलत गर्न वा विधिलाई उल्लङ्गन गर्न उक्साइरहेका हुनसक्छौँ । राम्रो परिणाम वा अपेक्षित नतिजाको लागि नायक हैन, प्रणालीको महत्त्व ज्यादा हुन्छ । प्रणालीका कारण आफै भैरहेको राम्रो कामको श्रेय हामी व्यक्तिलाई दिएर प्रणालीलाई नजरअन्दाज गरिरहेका हुन्छौँ । तसर्थ दोषारोपणको सहज प्रवृत्तिबाट समाजलाई जोगाउँदै अघि बढ्न रोसलिङ दुई उपाय सुझाउँछन् ः पहिलो, कुनै पनि घटनाका जिम्मेवारीका लागि खलपात्रको खोजी हैन, कारणको खोजी गर्नु आवश्यक छ । दोस्रो, राम्रो परिणामका लागि व्यक्तिलाई हैन, प्रणालीलाई मजबुत बनाउने बाटो अवलम्बन गर्नु आवश्यक छ ।
वास्तविकता फेरि के पनि हो भने समाजको द्रुत परिवर्तन सम्भव छैन । उसको परिवर्तन क्रमिक र ढिलो गतिमा हुन्छ । हाम्रो देशको हकमा पनि सत्य हो भने राजनीतिक परिवर्तनसँग सामाजिक परिवर्तनले कदम मिलाएर
हिँड्नसकेको छैन । यसका लागि सामन्तवादले अखडा जमाएको हाम्रो संस्कृति र युग अनुकूल परीक्षण नगरिएको अवैज्ञानिक शिक्षा प्रणालीको समेत भूमिका हुनसक्ने सम्भावनातर्फ बहस थालनीमा ढिला भैसकेको छ । सुविधाजनक बहुमत प्राप्त अहिलेको सरकारको मूल उद्देश्य नै प्रणाली स्थापना गर्न, लोकतन्त्रका मानकहरूलाई जग दिन भूमिका खेल्नु र त्यसका लागि प्रतिबद्ध अगुवाइ गर्नु हुनुपर्ने हो । तर के वर्तमान सरकार र राजनीतिक नेताहरू यस्तो आदर्श जिम्मेवारीप्रति पूर्णरूपमा सचेत छन् ?

Page 8
विदेश

बेलायत ब्रेक्जिटप्रति पुनः प्रतिबद्ध

- एएफपी

लन्डन – बेलायती प्रधानमन्त्रीको कार्यालयले युरोपेली संघ (ईयू) बाट मुलुकको बहिर्गमन (ब्रेक्जिट) सम्झौता कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिटकै गतिरोधका कारण बेलायत र अमेरिकाबीच हुन लागेको व्यापार सम्झौता लगभग असम्भव रहेको चेतावनी दिएसँगै यो भनाइ सार्वजनिक भएको हो । ‘यो व्यापार सम्झौता अब होला भन्ने लाग्दैन । हामी बेलायतसाग व्यापार सम्झौता गर्न सक्दैनौं,’ बेलायती मतदातालाई प्रभावित तुल्याउने गरी एक अन्तरवार्तामा ट्रम्पले भनेका छन् । ब्रेक्जिटमा संसद्भित्र सहमति नजुटेपछि बेलायतमा आगामी डिसेम्बर १२ मा संसद्का लागि मध्यावधि चुनाव हुँदै छ ।
युरोपेली संघबाट बेलायतको बहिर्गमन हुनासाथ दुवै देशबीच ‘व्यापार सम्झौता’ गर्न आफू तयार रहेको गत सेप्टेम्बरमा ट्रम्पले बताएका थिए । तर, उनको पछिल्ला अभिव्यक्तिले अन्योल बढाएको छ । उनले बेलायती मुख्य विपक्षी नेता जेरेमी कोर्बिनमाथि निरन्तर आक्रमण गर्दै आएका छन् । राष्ट्रपति ट्रम्पले सन् २०१६ को जनमतसंग्रहमा मुख्य भूमिका निर्वाह गरेका नाइजेल फाराजसँग एकता गर्न पनि प्रधानमन्त्री जोन्सनलाई सुझाव दिएका छन् ।
‘कोर्बिन त बेलायतका लागि निकै खराब मानिस हुन्,’ ट्रम्पले नाइजेल फाराजलाई फोन गरी प्रतिक्रिया दिएको बेलायती रेडियो ‘एलबीसी’ ले प्रसारण गरेको छ । ‘म, तपाईं र बोरिस मिलेको हेर्न चाहन्छु, र मेरो विचारमा मुलुकका लागि यो निकै राम्रो हुनेछ,’ ट्रम्पले भनेका छन् । नयाँ ब्रेक्जिट पार्टी गठन गरेका फाराजले युरोपेली सघबाट कुनै सम्झौता नगरीकनै बेलायत बाहिरिनु उपयुक्त हुने भन्दै चुनावी प्रचार थालेका छन् । फाराजले चुनावी गठबन्धन बनाउन आग्रह गरे पनि प्रधानमन्त्री जोन्सनले अस्वीकार गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पको अन्तरवार्ता प्रसारण भएलगत्तै बेलायती संसद्मा मुख्य विपक्षी दलका नेता कोर्बिनले ट्वीट गर्दै बोरिस जोन्सनलाई जिताउन ट्रम्पले बेलायतको चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

विदेश

इराकमा मध्यावधि चुनावमा सहमति

- एएफपी

बग्दाद – इराकी राष्ट्रपति बरहाम सालेहले मुलुकमा महिनायता सरकारविरोधी हिंसात्मक प्रदर्शन जारी रहेको भन्दै मध्यावधि चुनाव गर्न प्रतिबद्ध रहेको बताएका छन् । तर प्रदर्शनकारीले चुनावले मात्र समस्याको समाधान नहुने बताएका छन् ।
टेलिभिजनमा बिहीबार प्रसारित एक सन्देशमा सालेहले प्रधानमन्त्री अदेल अब्देल माहदी राजीनामा गर्न तयार रहेको बताएका थिए । उनले प्रधानमन्त्री पदका लागि अर्को कुनै व्यक्ति तत्काल तयार नरहेको पनि बताए ।
राष्ट्रपति सालेहले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिने बताइसक्नुभएको छ । सबैलाई स्वीकार्य विकल्पमा पुग्न सबै राजनीतिक दललाई आग्रह गर्छु ।’
राष्ट्रपतिको सन्देशका बारेमा बग्दादको सडकमा भेटिएका ४९
वर्षीय हेदर काजिमले भने, ‘अब्देल माहदीको राजीनामाले मात्र समस्याको समाधान गर्दैन । समस्या त सत्तारूढ दलहरूभित्रै छ, प्रधानमन्त्री अब्देल माहदीसँग होइन ।’
इराकी नेताले ठुल्ठूला प्रदर्शनलाई जारी राख्ने घोषणा गरेका छन् । गत अक्टोबर १ मा बेरोजगार र भ्रष्टाचारको विरोधमा सुरु भएको यो प्रदर्शन हाल सरकारको विरोधमा केन्द्रित भएको छ ।
राष्ट्रपति सालेहले पछिल्लो समय प्रधानमन्त्री र अन्य दलसँग गम्भीर विचार विमर्श जारी राखेका छन् । प्रदर्शनका बारेमा छलफल गर्न संसद्को बैठक समेत डाकिएको छ । प्रधानमन्त्री माहदीले टेलिभिजनबाट संसद्का कारबाही प्रत्यक्ष प्रसारण गरिए आफू संसद्को रोस्ट्रममा उभिएर सांसदले राखेका प्रश्नको जवाफ दिन तयार रहेको बताउँदै आएका छन् ।
७७ वर्षीय अब्देल माहदी इराकको प्रधानमन्त्रीमा एक वर्षअघि चुनिएका हुन् । उनलाई मोक्तादा सदर र संसदीय नेता हादी अल–अमेरीको समर्थन छ तर पछिल्लो समय मोक्तादा सदरले प्रदर्शनकारीलाई समर्थन गरेका छन् । अमेरी र अरू केही दलले सरकारलाई समर्थन गरिरहेका छन् ।
महिनादेखिको यस प्रदर्शनका कारण कम्तीमा २ सय ५७ जनाको मृत्यु हुनुका साथै १० हजारभन्दा बढी घाइते भएका छन् । गत सातामा मात्र सय जनाको ज्यान गएको इराकी मानवअधिकारी आयोगले जनाएको छ ।

विदेश

बग्दादीको मृत्यु पुष्टि

बग्दादीको मृत्यु पुष्टि
- एएफपी

(बेरुत) - इस्लामिक स्टेट्स (आईएस) समूहले आफ्ना प्रमुख नेता अबु बकर अल–बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । अमेरिकी सुरक्षा बलको विशेष कारबाहीमा बग्दादी मारिएको घोषणा आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक गरेका थिए । त्यसको पाँच दिनपछि आईएसले बग्दादी मारिएको पुष्टि गरेको हो । आफ्ना प्रमुख नेता मारिएपछि नयाँ नेतृत्वको खोजी समूहमा हुँदै आएकै थियो । नयाँ नेताका बारे विभिन्न अड्कलबाजी जारी रहेकै अवस्थामा समूहले बिहीबार अबु इब्राहिम अल कुरैसीलाई आफ्नो नेतृत्व सुम्पेको आईएसको विज्ञप्तिमा उल्लेख छ । ‘हामी तपार्इंलाई एक बफादार कमान्डरको रूपमा नियुक्त गर्दछौँ,’ जिहादी समूहका प्रवक्ता अबु हमजा अल कुरैसीले बग्दादीको निधनमा दिएको शोक अडियोमा भनेका छन् ।
अमेरिकी विशेष फौजले गत आइतबार गरेको कारबाहीमा सिरियाको इद्लिबमा बग्दादी मारिएका थिए । सन् २०१४ मा इराक र सिरियाको ठूलो भूभागमाथि आईएस लडाकुले कब्जा गरेपछि अल बग्दादी समूहका नेता घोषणा भएका थिए । आईएसले नियुक्त गरेका नयाँ नेताको विस्तृत विवरण र तस्बिर भने सार्वजनिक गरिएको छैन । समूहले आफ्ना नयाँ नेता पश्चिमाविरुद्ध लडाइँ गरेका एक अनुभवी जिहादी लडाकु भएको दाबी गरेको छ । सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्ग्दादीलाई आधिकारिक रूपमा आतंककारी घोषणा गर्दै उनलाई पक्राउ गर्ने व्यक्तिलाई दुई करोड ५० लाख डलरको पुरस्कार घोषणा गरेको थियो । विश्वमै सर्वाधिक खोजी गरिएका व्यक्तिको सूचीमा रहेका बग्दादी सिरियाको इड्लिबमा अमेरिकी सेनाको कारबाहीमा मारिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बग्दादी मारिनुअघि गत शनिबार राति ‘आज ठूलै कुरा हुँदै छ’ भन्दै ट्वीट गरेका थिए । उत्तरी सिरियाबाट अमेरिकी सेना फिर्ता भएलगत्तै इस्लामिक स्टेट्सको प्रभाव बढ्ने अनुमान भइरहेका बेला त्यसै संगठनका प्रमुख नेता मारिएको खबर सार्वजनिक भएको थियो । कुनै समय इराक, सिरियासमेतको ठूलो भू–भागमा कब्जा जमाउन सफल इस्लामिक स्टेट्सको पछिल्लो समय पराजयको क्रम सुरु भएको बताइन्छ । अल–बग्दादीले विगत पाँच वर्षदेखि इस्लामिक स्टेट्सको नेतृत्व गरिरहेका थिए । चरमपन्थी इस्लामिक यस संगठनको इराक र सिरियामा प्रभाव रहेको छ । बग्दादीको नेतृत्वमा रहेको संगठनका समर्थकले युरोप र अमेरिकी भू–भागमा आतंकवादी आक्रमण गर्दै थिए । इस्लामिक स्टेट्सले पछिल्लो समय हत्या हिंसामार्फत् जनजीवन त्रसित बनाउने गरेको थियो ।
बग्दादीले पछिल्लो समय गतमहिना एउटा अडियो रेकर्ड सार्वजनिक गर्दै आफ्ना लडाकु र आफूसहित परिवारका सदस्यलाई मुक्त गर्न अपिल गरेका थिए ।
अघिल्लो दिन मात्रै अमेरिकी सेनाले बग्दादीलाई मार्न आफूले गरेको कारबाहीको भिडियो सार्वजनिक गरेको थियो । भिडियोमा स्थल कारबाहीका लागि बग्दादी लुकेर बसेको स्थानतर्फ जानुअघि अमेरिकी हवाई सेनाले जमिनमा रहेका लडाकुलाई लक्षित गरी आक्रमण गरेको देखिन्छ । सेनाहरू जमिनमा उत्रनुअघि ज्यान जोगाउन सुरुङभित्र पसेका बग्दादीले भेस्ट बम विस्फोट गराई आत्महत्या गरेको भिडियोबाट सजिलै अनुमान गर्न सकिन्छ ।
अमेरिकी केन्द्रीय कमान्डर जेनरल केनेथ म्याक्केन्जीले बग्दादीसँगै पहिले भनिएजस्तै तीन नभई दुई बालबालिकाको मात्र ज्यान गएको बताए । राष्ट्रपति ट्रम्पले भने जस्तो त्रासले चिच्याहट गर्दै मरेको म्याक्केन्जीले पुष्टि भने गर्न सकेनन् ।
‘दुई बालबालिकासहित उनी सुरुङमा पसे । आफ्ना सहयोगीमाथि नै आत्मघाती विस्फोट गराए । यसैबाट बग्दादी कस्ता मानिस थिए भन्ने तपाईं थाहा पाउन सक्नुहुन्छ,’ म्याक्केन्जीले भने । बग्दादीसँगै आत्मघाती पोसाक लगाएका ४ महिला तथा एक पुरुषको पनि मृत्यु भएको उनले जनाए । अमेरिकी हेलिकप्टरमाथि गोली चलाएपछि केही लडाकुलाई पनि अमेरिकी सेनाले मारेको उनको दाबी छ ।
म्याक्केन्जीले डीएनए टेस्टपछि बग्दादीको शव पहिचान गरिएको बताए । उनको डीएनएको नमुना सन् २००४ मा इराकी जेलमा रहँदा लिइएको थियो । उनका अनुसार ‘सशस्त्र युद्धको कानुनअनुसार बग्दादीको शव समुद्रमा व्यवस्थापन गरिएको’ छ ।
यसैबीच, आईएस संगठनले आफ्ना समर्थकलाई न कुनै कमजोरी बताउन चाहेको छ न त बग्दादीको हत्यापछि कुनै प्रकारको असन्तुलनको संकेत सार्वजनिक गरेको छ । संगठनका उच्च नेता रहेको सुरा कमिटी (सबै पुरुष) ले पहिले नै संगठन प्रमुखका लागि उम्मेदवारीमाथि विचार गरिसकेको अड्कल गरिँदै थियो । त्यसैबीच कुरैसीको नाम आईएसले सार्वजनिक गरेको छ । कुरैसीको छनोट धेरै सुझबुझका साथ गरिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । नयाँ नेता आईएसप्रति पूर्णनिष्ठा, कुशल रणनीति बनाउने क्षमता, कुनै प्रकारको दाग नलागेको धार्मिक पहिचान बोकेका, युद्ध लड्ने अनुभव भएका र कठोर सजाय दिन चर्चित व्यक्तिमध्येका एक रहेको बताइएको छ । इस्लामिक स्टेट्समा पूर्वइराकी राष्ट्रपति सद्दाम हुसेनका सेना र खुफियातन्त्रका पूर्वसदस्यसँगै अति रूढिवादी जेहादी दुवै सहभागी रहेका छन् । बाथिस्ट भनिने समूहले हतियार, गोला–बारुद, खुफिया जानकारी दिन्छन् र योजना तयार गर्छन् ।

विदेश

ट्रम्पविरुद्ध महाअभियोग जाँच अघि बढ्यो

- एजेन्सी

वासिङ्टन – अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ ले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने/नलगाउनेबारे जाँच प्रक्रिया अगाडि बढाएको छ । कुनै पनि राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने/नलगाउनेबारेको घटना अमेरिकी संसद्को इतिहासमा यो चौथो पटक हो । सभामुख नेन्सी पेलोसीले यसै साता यो विषयमा मतदान गराउने घोषणा गरेकी थिइन् । लामो समयदेखि महाअभियोगको माग गरिरहेका रिपब्लिकन सांसदहरूलाई सन्तुष्ट पार्न सभामुख पेलोसीको उक्त घोषणा आएको थियो । राष्ट्रपति ट्रम्पले निजी राजनीतिक फाइदाका लागि युक्रेनमाथि दबाब दिएको आरोपपछि महाभियोग लगाउने/नलगाउने प्रस्ताव संसद्मा बहसका रूपमा प्रवेश गरेको हो ।
अमेरिकी संसद्को इतिहासमा यसअघि तीनपटक राष्ट्रपतिविरुद्ध महाअभियोगको विषय उठेको थियो । सन् १९६८ मा एन्ड्र्यु जोनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्धको महाअभियोग अन्तिम चरणसम्म पुगेपछि पारित हुन सकेन । यी दुईलाई आरोपमुक्त गरिएको थियो । त्यसपछि दुवैले आफ्नो कार्यकाल पूरा गरेका थिए । तर, रिचार्ड निक्सनले महाअभियोग लाग्ने शंकामा पहिले नै पदबाट राजीनामा दिएका थिए । बिहीबार मतदानअघि पेलोसीले भनेकी थिइन्, ‘यो कुनै आनन्द वा सान्त्वना दिने नभई दुःखद कुरो हो । यो गम्भीर पनि छ ।’ हाउसले यो प्रस्तावलाई १९६ को तुलनामा २३२ मतले पारित गरेको छ । डेमोक्र्याटिक पार्टीका मात्र दुई सांसद यसको विरुद्धमा गएका थिए भने रिपब्लिकन पार्टी छाडिसकेका एक सांसदले यसको पक्षमा मतदान गरेका थिए ।
राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच २५ जुलाईमा भएको कुराकानीको विरोध भएको थियो । विरोधपछि सेप्टेम्बर २४ मा पेलोसीले यसको जाँच आदेश दिएका थिए । जाँचमा सहभागीहरूले ट्रम्पले जेलेन्स्कीमाथि निजी राजनीतिक फाइदाका लागि दबाब दिएको आरोपबारे अनुसन्धान गरेका थिए । डेमोक्र्याटिक सांसदहरूले जाँचका क्रममा ‘घातक प्रमाण’ प्राप्त भएको प्रतिक्रिया दिँदै आएका छन् ।
उनीहरूका अनुसार ट्रम्पले कथित रूपमा युक्रेनका राष्ट्रपतिलाई पूर्वअमेरिकी उपराष्ट्रपति जो बाइडेनविरुद्ध अनुसन्धान गरे मात्र उसलाई अमेरिकी सैन्य सहयोग प्राप्त हुने बताएका थिए । वाइडेन अगामी वर्ष राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीबाट ट्रम्पलाई चुनौती दिदै सबै भन्दा अगाडि छन् । केही साक्षीहरूले दिएको बयानअनुसार ट्रम्पले युक्रेनको सैन्य सहयोगलाई बाइडेन र उनको छोरा हन्टर बाइडेनविरुद्धको अनुसन्धानसँग जोडेका छन् । हन्टर बाइडेन युक्रेनको कयौ प्राकृतिक ग्यास कम्पनीहरूको बोर्डमा काम गरिसकेका छन् ।
अनुसन्धानमा सहभागी हाउस अफ इन्टेलिजेन्स कमिटीका अध्यक्ष एडम सिफले बिहीबार भने, ‘यो हाम्रो मुलुकको इतिहासमा एउटा गम्भीर दिन हो । डेमोक्र्याटस्ले यसको गम्भीरतालाई बुझेको छ । तर परिस्थितिहरूका कारण अगाडि बढ्न बाध्य छ ।’ उनले डेमोक्र्याट सांसदले आफ्नो कर्तव्यलाई यो विषयमा अत्यन्तै जिम्मेवारीका साथ निर्वाह गर्नेप्रति आफू आशावादी रहेको जनाएका छन् । अल्पमतका नेता केभिन म्याकार्टीले भने, ‘डेमोक्र्याट्स अमेरिकी नागरिकका लागि काम गरिरहेको छैन ।’

विदेश

दिल्लीमा अचाक्ली प्रदूषण

विद्यालय बन्द
- सुरेशराज न्यौपाने

(नयाँदिल्ली) - केही दिनयताको प्रदूषणका कारण भारतको राजधानी दिल्ली र आसपास क्षेत्रको जनजीवन कष्टकर बनेको छ । अत्यधिक प्रदूषणलाई ध्यानमा राख्दै प्रदूषणका कारण सर्वसाधारणलाई श्वास फेर्नसमेत असहज भएको छ । दुई साताअघिसम्म पनि दिल्लीको आकाश खुला रहेकोमा विगत केही दिनयता प्रदूषणका कारण पूरै घुम्म भएको छ । जसका कारण हावामा प्रदूषण स्तर बढ्दै गएको छ । दिल्ली र आसपासका क्षेत्रमा रहेका कलकारखाना, अत्यधिक सवारीसाधनका अतिरिक्त पन्जाब र हरियाणाका खेतमा पराल जलाएका कारण प्रदूषणको यो हदसम्म बढेको अनुमान गरिएको छ । विभिन्न सरकारी तथ्यांकले दिल्ली र आसपासको क्षेत्रमा प्रदूषण यो हदसम्म बढ्नुमा करिब ३५ प्रतिशत योगदान पन्जाब र हरियाणाका खेतमा जलाइएको परालको धुवाँको योगदान रहेको देखाएको छ ।
जब कि सरकारले त्यसरी जलाउन गत वर्षनै प्रतिबन्ध लगाएको थियो । तर, किसानले त्यसको अटेरी गर्दै आएका छन् । त्यति मात्र होइन, केन्द्र सरकारले पराललगायतका कृषि उपजका अवशेषलाई जलाउनुका साटो व्यवस्थापन गर्न चाहिने आवश्यक प्रविधि तथा उपकरण खरीदमा ५० देखि ८० प्रतिशतसम्म अनुदानको व्यवस्था पनि गरेको छ । तर, किसानले त्यस्ता उपकरण महँगो पर्ने भन्दै हिउँदे बाली लगाउनुअघि पराल जलाउने गरेका छन् । जसले गर्दा दिल्ली र आसपासको क्षेत्रको वायुको प्रदूषणको स्तर निकै उच्च हुने गरेको छ ।
विभिन्न निकायले गरेको मापनले विगत केही दिनयता हावाको प्रदूषण स्तर निकै नै जोखिमपूर्ण देखिएको छ । बिहीबार राति दिल्लीको हावाको गुणस्तर मापन गर्ने सूचक एअर क्वालिटी इन्डेक्स (एक्बूआई) ४२५ पुगेको थियो । जब कि जनस्वास्थ्यका हिसाबले त्यो इन्डेक्स सयभन्दा तल हुनुपर्छ । पछिल्लो समयमा हावामा पनि हानिकारक पदार्थको परिमाण पनि मापदण्डभन्दा निकै नै बढी पाइएको छ । त्यसैगरी हावामा पाइने त्यस्ता हानिकारक कणहरूको मापन गरिने पीएम २.५ को स्तर २९६.७ माथि थियो । मानवस्वास्थ्यका लागि त्यो ६० भन्दा बढी हुनु हुँदैन । प्रदूषणको यो स्तर गत वर्ष पुसयताकै उच्च हो ।
त्यस्ता हानिकारक कणहरूले फोक्सोलाई नराम्रोसँग असर पुर्याउँछ । प्रदूषण बढेसँगै सर्वसाधारण घरबाहिर निस्कँदा मास्क प्रयोग गर्न थालेका छन् । सरोकारहरूले प्रदूषणका कारण विशेषगरी बालबालिकाहरूको स्वास्थ्यमा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । दिल्ली सरकारले भने अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई आहृवान गरेको छ । दिल्लीमा पनि आनन्द बिहार, विवेक बिहार, दिल्ली छेउका ग्रेटर नोयडा, फरिदाबाद, गाजियाबादको हावाको गुणस्तरमा उच्च गिरावट देखिएको छ ।
हावा गुणस्तरमा बिहीबारको राति सबैभन्दा बढी गिरावट देखिएपछि प्रदूषण नियन्त्रण गर्न सर्वोच्च अदालतद्वारा गठित वातावरण प्रदूषण नियन्त्रण तथा रोकथाम प्राधिकरण (ईपीसीए) ले अघिल्ला वर्षहरूमा जस्तै विभिन्न निर्देशनसमेत जारी गरेको छ । ईपीसीएले जनस्वास्थ्यका हिसाबले संकटकालीन अवस्था घोषणा गर्दै आगामी मंगलबारसम्म दिल्ली र एनसीआर क्षेत्रमा निर्माणसम्बन्धी सबै कामहरू बन्द गर्न आदेश जारी गरेको छ । ईपीसीएले बढ्दो वायु प्रदूषणलाई ध्यानमा राख्दै हिउँदैको याममा पटाका पड्काउन पनि प्रतिबन्ध लगाएको छ । त्यसैगरी दिल्लीको हावाको गुणस्तर जोखिमयुक्त देखिएका कारण दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आगामी मंगलबारसम्मका लागि सबै विद्यालय बन्द गर्न आदेश दिएका छन् । साथै दिल्ली सरकारले प्रदूषणलाई ध्यानमा राख्दै ५० लाख मास्क बाँड्ने अभियान पनि सुरु गरेको छ । त्यसैगरी, आगामी सोमबारदेखि दिल्लीमा सार्वजनिक सवारीसाधनका लागि दुई १५ नोभेम्बरसम्म जोरबिजोर प्रणाली लागू हुनेछ । आइतबारबाहेक अन्य दिन बिहान आठ बजेदेखि साँझ आठ बजेसम्म यो व्यवस्था अनिवार्य रूपमा लागू हुनेछ ।

Page 9
स्वास्थ्य

औषधिको भण्डार बन्दाकोबी

- कान्तिपुर संवाददाता

भान्सामा सस्तो र सर्वसुलभ रूपमा उपलब्ध हुने बन्दाकोबीलाई औषधिको भण्डारका रूपमा पनि लिइन्छ । यसमा नघोलिने रेसा, बिटा केरोटिन, भिटामिन ‘बी १’, ‘बी ६’, ‘के’, ‘ई’, ‘सी’ लगायतका भिटामिनसमेत पाइन्छ ।
स्वास्थ्य विशेषज्ञहरूद्वारा गरिएको विभिन्न अनुसन्धानको निष्कर्षअनुसार, क्यान्सर रोगीले बन्दा खानाले र यसको रस सेवनले आराम मिल्छ । यसमा पाइने ‘सिनिग्रान’, ‘इन्डोल’ आदिले क्यान्सरबाट जोगाउँछ । यसमा पाइने तत्त्व कोलोन क्यान्सर रोक्न सघाउँछ ।
बन्दाकोबीको रसमा आइसोसाइनेटस हुन्छ । यो रसायनले हाम्रो शरीरमा एस्ट्रोजन मेटाबोलिज्मको प्रक्रियालाई तीव्र गर्छ । जसले गर्दा स्तन, फोक्सो, प्रोस्टेट, पेट, कोलोन आदिको क्यान्सरबाट जोगाउँछ । यति मात्र नभई बन्दाको सेवनले क्यान्सर निको हुने प्रक्रियालाई समेत गति मिल्ने मान्यता छ ।
बन्दा जति हरियो हुन्छ, त्यति नै पोषक तत्त्वले युक्त हुन्छ । यसले रोग प्रतिरोधक क्षमतालाई समेत बढाउँछ । हरियो बन्दामा भिटामिन ‘ई’ धेरै मात्रामा हुन्छ । यसमा भित्रको पहेँलो खण्ड भिटामिन ‘ए’ को पूर्ति गर्छ । ठूलो बन्दामा सानोमा भन्दा बढी मात्रामा क्याल्सियम पाइन्छ ।
बन्दामा ९० प्रतिशत पानी हुन्छ । यसमा ०.६ प्रतिशत खनिज पदार्थ, प्रोटिन १.६, क्याल्सियम ००.३, बोसो ०.००१, कार्बोहाइड्रेट ६.२, फलाम ००.५ प्रतिशत पाइन्छ । बन्दामा भिटामिन ‘ए’ र ‘डी’ पर्याप्त मात्रामा पाइन्छ । यस्तै भिटामिन ‘सी’ समेत थुप्रै मात्रामा हुन्छ ।
यसको माथिल्लो पातमा भिटामिन हुन्छ । यसलाई फ्याँक्नु हुँदैन । यसको पातलाई राम्ररी धोएर संक्रमणमुक्त गरेर काँचै खानाले रक्तविकार, अजीर्ण, दाँत, पेट, आँखासम्बन्धी रोग, कफ, पित्त आदि विकार हट्छन् । यो कुष्ठरोगमा समेत लाभदायक मानिन्छ । आयुर्वेदका अनुसार, ताजा बन्दाको पात बिहान चपाएर खानाले कब्जियतबाट मुक्ति पाइन्छ । यस्तै, अनिद्रापीडितले समेत सुत्नुअघि बन्दाको रस सेवन गर्दा फाइदा हुन्छ । बन्दाको नियमित सेवनले कपाल झर्न रोकिन्छ । पिसाबसम्बन्धी रोगमा समेत यो प्रभावकारी मानिन्छ । पिसाब अड्किएर आउँछ भने बन्दाको रस नियमित सेवनले उक्त समस्या समाप्त हुन्छ । बन्दाको उपयोग सुन्दरता निखार्नसमेत गरिन्छ । रुखो तथा चाउरी परेको छाला भएमा बन्दाको रस अनुहारमा लगाउनाले रुखोपना हट्नुको साथै चाउरीसमेत कम हुन्छ । यति मात्र नभई यसको रसले अनुहारमा भएको दाग कम गर्नुको साथै गोरोपना समेत बढाउँछ । यसले ज्यान नभएको र तैलीय छालालाई समेत फाइदा पुर्‍याउँछ ।
बन्दाले स्तनपान गराउने महिलालाई स्तनको दुखाइ र संक्रमण हुन नदिन महत्त्वपूर्ण भूमिका खेल्छ । यो दुखाइ बढेर संक्रमणको रूप लिन्छ जसलाई मास्टाइटिस भनिन्छ । स्तनपान गराउने महिलालाई स्तनमा दुखाइ, सुन्निनु र स्तन रातो हुनुजस्ता समस्याबाट मुक्ति पाउन चिकित्सकहरू बन्दा सेवनको सल्लाह दिन्छन् । मास्टाइटिस स्तन कोशिकाको संक्रमण हो जुन स्तनपान गराउने समय उत्पन्न हुन्छ । यो ती महिलामा समेत हुन सक्छ जो आमा बनिसकेका छैनन् वा जसमा रजोनिवृत्ति हुनेवाला छ । यसको उपचार नगराउँदा स्तनबाट पिप आउने समस्या हुन सक्छ जसको उपचार शल्यचिकित्साले नै हुन सक्छ ।
भारतको नयाँदिल्लीस्थित अखिल भारतीय चिकित्सा विज्ञान प्रतिष्ठान (एम्स) का अनुसार, यो उपचार स्तनको प्रभावित स्थानमा बन्दाको पात राखेर हुन्छ । यो प्रक्रियालाई हरेक दुई–दुई घन्टाको अन्तरालमा दोहोर्‍याउनाले र दिनमा बढीभन्दा बढी समयसम्म गर्नाले छिटो फाइदा हुन्छ । एम्सले यो उपचार विधिबाट थुप्रै महिलालाई फाइदा पुगेको समेत जनाएको छ । बन्दाको उपचार युरोपेली मुलुकमा पहिलेदेखि नै प्रचलनमा छ ।

स्वास्थ्य

विस्तारै हिँड्ने व्यक्ति पछि रोगी

- कान्तिपुर संवाददाता

हालै गरिएको एउटा अनुसन्धानअनुसार, विस्तारै हिँड्ने व्यक्तिहरूमा बुढ्यौलीमा रोगी हुने जोखिम बढी हुन्छ ।
यो अनुसन्धान जामा नेटवर्क ओपेन जर्नलमा प्रकाशित भएको हो । अनुसन्धानअन्तर्गत न्युजिल्यान्डमा तीन वर्षका नौ सयभन्दा बढी सहभागीलाई ४० वर्षसम्म अध्ययन गरिएको थियो ।
अध्ययनअनुसार, व्यक्ति विशेषको हिँडाइको गतिले भविष्यमा अल्जाइमर्स जस्तो रोग हुन सक्छ वा सक्दैन भन्ने थाहा पाउन सकिन्छ ।
विस्तारै हिँड्ने ४५ वर्षका व्यक्ति अन्य व्यक्तिको दाँजोमा छिट्टै बूढो देखिन्छन् । उनीहरूको दाँत, फोक्सो र रोग प्रतिरोधक प्रणालीमा प्रौढमा देखिने जस्तो समस्या हुन्छ ।
अध्ययनअन्तर्गत, विस्तारै हिँड्ने व्यक्तिको औसत गति १.२१ मिटर प्रतिसेकेन्ड अर्थात् सामान्य रूपमा ४.३ किलोमिटर प्रतिघन्टा हो । यस्तै तीव्र गतिले हिँड्ने व्यक्तिको औसत गति १.७५ मिटर प्रति सेकेन्ड अर्थात् ६.२ किलोमिटर प्रति घन्टा मानिएको छ ।
अनुसन्धानमा यो पनि भनिएको छ– तीन वर्षको बच्चाको मस्तिष्कलाई हेरेर यो थाहा पाउन सकिन्छ कि त्यो कति तीव्र गतिले बुज्रुक हुनेछ । मस्तिष्कमा के भइरहेको छ, त्यो हेर्न अनुसन्धानमा एमआरआई स्क्यानको सहयोग लिइएको थियो ।

Page 10
समाचार

मलेसियाको मागपत्र हत्याउन अस्वस्थ प्रतिस्पर्धा

वैदेशिक रोजगार व्यवसायी कम्पनीका प्रतिनिधिले रोजगारदाता वा रोजगारदाताका प्रतिनिधिबाट प्रतिभिसा दुई हजार रिंगेट (झन्डै ५४ हजार रूपैयाँ) कमिसन दिई मागपत्र लिने गरेका छन् ।
- होम कार्की

(काठमाडौं) - मलेसियाका रोजगारदाताबाट कामदार ल्याउने मागपत्र हात पार्न वैदेशिक रोजगार व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ । रोजगारदाताबाट कमिसन आउने मागपत्र लिन छाडेर उनीहरू किन्ने प्रतिस्पर्धामा लागेका छन् ।
वैदेशिक रोजगार व्यवसायी कम्पनीका प्रतिनिधिले रोजगारदाता वा रोजगारदाताका प्रतिनिधिलाई भेटेर प्रतिभिसा दुई हजार रिंगेट (झन्डै ५४ हजार रुपैयाँ) कमिसन दिई मागपत्र हात पार्न थालेका छन् । ‘कसैले रोजगारदाताबाट दिइने कमिसन चाहिँदैन भनिरहेका छन्, कोही टिकटको खर्च चाहिँदैन भन्छन् । कसैले उल्टो रोजगारदातालाई कमिसन दिन तयार भएको खबर पनि आइरहेको छ ।’
नेपाल र मलेसियाबीचको समझदारीअनुसार मलेसिया जाने नेपाली कामदारले वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई एक रुपैयाँ पनि बुझाउनु पर्दैन । यसअघि कामदारले म्यानपावर कम्पनीलाई एक लाख रुपैयाँभन्दा बढी बुझाउनुपर्थ्यो । मलेसियाका म्यानपावर कम्पनीको सहभागिताबिना सिधै मागपत्र ल्याए नेपालका म्यानपावरले प्रतिकामदार १ हजार ५० रिंगेट (झन्डै २८ हजार रुपैयाँ) कमिसन पाउने व्यवस्था छ । मलेसियाका म्यानपावर सहभागी भए त्यसको आधा मात्रै कमिसन नेपाली म्यानपावरले पाउनेछन् ।
‘दुवै देशले शून्य लागतको मोडललाई आत्मसात गरिसकेका छन् । रोजगारदाता कामदारको सबै शुल्क तिर्न तयार छन् । दूतावासमा पेस भएको मागपत्रमा सबै शुल्क रोजगारदाताले नै तिर्न तयार भएको उल्लेख गरिएको हुन्छ,’ राजदूत पाण्डेले भने, ‘केही म्यानपावर कम्पनीहरू किन आफ्नो खुट्टामा आफैं बन्चरो हानिरहेका छन्, मैले बुझिरहेको छैन ।’ रोजगारदातालाई एकजना नेपाली कामदार मलेसिया लैजान ६ हजार ३ सय २२ देखि ७ हजार ९ सय ४२ रिंगेट (१ लाख ७२ हजारदेखि २ लाख १६ हजारसम्म) खर्च लाग्छ । दुई देशको सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि मलेसियाको श्रम विभाग आफैंले पनि मागपत्र प्रमाणीकरण गर्न थालेको राजदूत पाण्डेले बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शून्य लागतमै कामदार पठाउन म्यानपावर व्यवसायीमाथि कडा निगरानी राखेको छ । मन्त्रालयले द्रुत गतिमा अनुगमन र कारबाहीका लागि विभागमै प्रहरीको विशेष युनिट स्थापनाका लागि तयारी गरिरहेको छ । ‘अस्वस्थ र अपारदर्शी रूपमा काम गर्ने म्यानपावर व्यवसायीलाई पहिले जस्तो अब सुविधा छैन । हामी सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गराउन राज्यका सबै संयन्त्रलाई सक्रिय र प्रभावकारी बनाइसकेका छौं,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने, ‘मलेसिया जाने कामदारसँग एक रुपैयाँ उठाउनु पनि अब अपराध हुनेछ । अपराधको कसुरअनुसारको सजायको भागीदार बन्नुपर्छ ।’ नयाँ सम्झौताअनुसार अझै कामदार मलेसिया गएका छैनन् । केही कम्पनीले विभागबाट पूर्वस्वीकृति लिइरहेका छन् । रोजगारदाता आएर कामदारसँग अन्तर्वार्ता लिने तयारी भइरहेको छ । अब कात्तिक अन्तिम साताबाट नयाँ सम्झौताको ढाँचाअनुसार कामदार उड्न थाल्नेछन् । ‘मलेसिया मात्रै काम गर्ने म्यानपावरलाई हामी फेरि एकपटक सामूहिक रूपमा भेट गर्दै छौं,’ विभागका प्रवक्ता भोलानाथ गुरागार्इंले भने, ‘उनीहरूलाई सम्झौताको विषयमा पुनः जानकारी दिने योजना बनाएका छौं ।’
मलेसियाका लागि नेपालका म्यानपावर कम्पनीबाट अन्तर्वार्तामा छनोट भएका कामदारले प्रवेश भिसा पाउनका लागि नेपालमै चार चरण पार गर्नुपर्छ । सबैभन्दा पहिला कामदार महाराजगन्जस्थित जीएसजी सर्भिसमा बायोमेट्रिक प्रविधिअनुसार औंलाको छाप र आँखाको रेटिना स्क्यान गराउन जानुपर्छ । यसले मलेसिया सरकारको कालोसूचीमा रहेको र नरहेका व्यक्ति पहिचान गर्छ । कालोसूचीमा नरहेको पहिचान भएपछि मात्रै कामदार बायोमेडिकल प्रणाली जोडिएका ३६ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गर्न जानुपर्छ । बायोमेडिकलमा पास भएपछि मात्रै कामदारको कलिङ भिसा जारी हुन्छ । कलिङ भिसा प्राप्त कामदारको राहदानीमा ललितपुरस्थित मलेसियन दूतावासमा पुगेर भिसा स्टाम्प लगाउनुपर्छ ।
दूतावासले कामदारको राहदानी सिधै बुझ्ने गरेको छैन । काठमाडौंको लाजिम्पाटको उत्तरढोकास्थित ‘वान स्टप सेन्टर’ मा लगेर आवश्यक कागजातसहित राहदानी बुझाउनुपर्छ । उक्त सेन्टरले भिसा प्राप्त गर्नेको तथ्यांक राख्न ‘भीएलएन’ लाई बुझाउँछ । भीएलएन भिसा लगाउने व्यक्तिको तथ्यांक राख्ने अधिकारप्राप्त संयन्त्र हो । वान स्टप सेन्टर र भीएलएनको अफिस एकै ठाउँमा छ । भीएलएनले तथ्यांक राखिसकेपछि भिसा लगाउन दूतावास लिएर जान्छ ।
भिसा लगाइसकेपछि भीएलएनले राहदानी वान स्टप सेन्टरलाई बुझाउँछ । म्यानपावरले वान स्टप सेन्टरबाटै राहदानी लिनेछ । सुरक्षा जाँचका लागि १ सय ५ रिंगेट (२८ सय ६१ रुपैयाँ) र बायोमेडिकलका लागि २ सय ६० रिंगेट (झन्डै ७ हजार रुपैयाँ) कामदारले बुझाउनुपर्छ । त्यो शुल्क मलेसिया पुगेपछि रोजगारदाताले पहिलो महिनाको तलबमा कामदारलाई फिर्ता दिन्छ । वान स्टप सेन्टर, भीएलएन र प्रवेश भिसा शुल्कबापत २ सय २५ रिंगेट (झन्डै ६ हजार रुपैयाँ) म्यानपावरले बुझाउनुपर्छ । यो रकम कामदारसाग उठाउन पाइँदैन । यो शुल्क रोजगारदाताबाटै लिनेमा दुई मुलुकको सहमति छ । २०७४ जेठ २ अघि यी संयन्त्रबाट सेवा लिएबापत लाग्ने झन्डै १७ हजार ६ सय रुपैयाँ सबै कामदारले नै व्यहोर्नुपर्थ्यो । संयन्त्रबाट उठाउँदै आएको शुल्क अवैध भन्दै नेपाल सरकारले मलेसियामा कामदार पठाउन बन्द गरेको थियो । मलेसियाले यी संयन्त्रको सेवा तत्काल हटाउन नसक्ने भन्दै शुल्क कामदारले नभई रोजगारदाताबाटै बेहोर्ने जिम्मेवारी लिएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार यो समझदारीले वार्षिक १ अर्ब ७१ करोड रुपैयाँ ठगी हुनबाट जोगिएको छ ।
‘यो मोडल नेपाल र मलेसियाका लागि नमुना हो । यो मोडललाई सफल बनाउन मलेसिया आफैं पनि गम्भीर छ,’ राजदूत पाण्डेले भने, ‘यही मोडलअनुसार मलेसियाले अरू चार देशलाई प्रस्ताव गरेको छ ।’ वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्कमाथि असहमति जनाए पनि सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइसकेको छ । उसले आफ्नो सदस्यहरूलाई सम्झौताबाहिर नजान अपिल गरिसकेको छ ।

समाचार

खोला फोहोर गर्नेलाई मुद्दा

- कान्तिपुर संवाददाता


पर्सा (कास)– सिर्सिया खोला प्रदूषणमा जिम्मेवार रहेको आरोपमा समातिएका चिनियाँ तथा भारतीय नागरिकलाई जिल्ला प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको छ । बारा–पर्सा औद्योगिक करिडोरस्थित हिमालयन लेदर उद्योगका व्यवस्थापक चिनियाँ नागरिक ३६ वर्षीय लिउता छुवाङ र म्यानेजर भारत घर भई हाल मकवानपुर बस्ने ३५ वर्षीय तिनजुङ गुरुङलाई सार्वजनिक अपराध मुद्दा चलाइएको हो । उनीहरूलाई बुधबार साँझ उद्योग परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । हिरासतमा रहेका उनीहरूलाई यो मुद्दामा जिल्ला प्रशासन कार्यालयमा पेस गरिने जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम थापाले जानकारी दिए । ‘सम्भवतः आइतबार वा सोमबार जिल्ला प्रशासन कार्यालयमा पेस गर्नेछौं,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारीको इजलासले यो मुद्दामा आवश्यक आदेश वा फैसला गर्नेछ ।’

Page 11
अर्थ वाणिज्य

विद्यार्थीलाई अनिवार्य बैंक खाता

- कान्तिपुर संवाददाता

परासी (कास)– पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले विद्यालय उमेरका सबै विद्यार्थीको बैंक खाता अनिवार्य गरेको छ । बैंकमार्फत कारोबार गर्न र
रकम बचत गर्ने बानी विकास गर्न यस्तो नीति ल्याएको गाउँपालिकाको दाबी छ ।
चालु आर्थिक वर्षभित्र गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका विद्यार्थीको अनिवार्य बैंक खाता खोल्न पत्राचार गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए । ‘सबै वित्तीय संस्थाले बाल बचतमा शून्य मौज्दातमा खाता खोल्ने गर्छन्,’ उनले भने, ‘यसले आर्थिक पारदर्शितालाई सहयोग पुर्‍याउनेछ ।’
सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई अभिभावक संरक्षक रहने गरी खाता खोलेपछि मात्र स्थानीय तहबाट पाउने सुविधा प्राप्त हुनेछ । स्थानीय तह र केन्द्रबाट शिक्षा तथा खेलकुदका लागि आउने छात्रवृत्ति, पोसाक,
पाठ्यपुस्तक र खाजाखर्च अब सोझै विद्यार्थीको खातामा जम्मा गरिनेछ ।
स्थानीय तहमार्फत विद्यालयमा जाने रकम विद्यालयले अन्य शीर्षकमा खर्च गरेर न्यून रकम मात्र विद्यार्थीलाई दिने गरेको गुनासो बढ्न थालेपछि स्थानीय तहले यस्तो कदम चालेको हो । ‘जसका लागि रकम निकासा भएको हो, उसैको हातमा पुगोस् भन्ने हाम्रो उद्देश्य हो,’ गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले भने, ‘विद्यार्थीको खाजा खर्च कटाएर कार्यालय सजाउने र अन्य काम गर्न पाइँदैन । बिल भर्पाई मात्र मिलाएर सुशासन नहुने भएकाले लक्षित वर्गलाई नै सोझै रकम पुर्‍याउन बैंकिङ प्रणाली सुरु गर्न लागेका हौं ।’

सीमावर्ती क्षेत्र भएकाले यहाँका केही अभिभावकको नागरिकता नभएको तर छोराछोरी भने विद्यालयमा अध्ययनरत रहेकाले उनीहरूको बैंक खाता खोल्न समस्या हुने आदर्श माध्यमिक विद्यालय सरावलका प्रधानाध्यापक देवनारायण चौधरीले बताए । ‘आर्थिक पारदर्शिताका लागि यो निकै राम्रो काम हो । हामीले पनि करिब ९० प्रतिशत विद्यार्थीको बैंक खाता खोलिसक्यौं,’ उनले भने, ‘सीमावर्ती क्षेत्रका अभिभावकको नेपाली नागरिकता र बालबालिकाको जन्मदर्ता पनि नभएकाले केहीमा समस्या देखिएको छ ।’ सरावल गाउँपालिकाका १६ सामुदायिक विद्यालयमा ५ हजार २ सय विद्यार्थी अध्ययनरत छन् ।

अर्थ वाणिज्य

'क्षतिपूर्ति छिटो बाँड'

गरिमा धानको बीउ नक्कली
नार्कले गरेको डीएनए परीक्षणमा गरिमाको जातसँग नमिलेपछि कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले क्षतिपूर्तिमा ढिलाइ नगर्न निर्देशन दिएको हो
- राजु चौधरी

(काठमाडौं) - किसानलाई बिक्री गरिएको गरिमा जातको हाइब्रिड बीउ नक्कली परेपछि संसदीय समितिले तत्काल क्षतिपूर्ति उपलब्ध गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएको छ । कृषि अनुसन्धान परिषद् (नार्क) ले गरेको डीएनए परीक्षणमा गरिमाको जातसँग नमिलेपछि शुक्रबार बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले क्षतिपूर्तिमा ढिलाइ नगर्न निर्देशन दिएको हो ।
‘गरिमा हाइब्रिडका नाममा किसान मर्कामा परे । किसानलाई क्षतिपूर्ति दिने सन्दर्भमा कृषि मन्त्रालय र सरकारले प्रतिबद्धता जनाए पनि यथाशीघ्र उपलब्ध गराउनुपर्छ,’ बैठकमा समिति सभापति पूर्ण कुमारी सुवेदीले भनिन्, ‘क्षतिपूर्ति उपलब्ध गराउने सन्दर्भमा ऐन/कानुनलाई पर्खेर ढिलाइ नहोस् । किसानलाई छिटोभन्दा छिटो राहत दिनुपर्‍यो ।’ उनले बीउको सन्दर्भमा समितिले पनि स्थलगत अध्ययन/अनुसन्धान गर्ने बताइन् ।
बीउ भारतको रेनोभा सिड साइन्स इन्डिया प्रालिले उत्पादन गरेको हो । नेपालतर्फको प्रास्तावक भने नेपालगन्जस्थित बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालि रहेको छ । दाङमा रहेको सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालिले आयात गरेको थियो । नेपालगन्ज भन्सार कार्यालय र त्यहाँस्थित क्वारेन्टाइन कार्यालयको तथ्यांकअनुसार २०७६ वैशाखमा ३४.८ टन बीउ आयात भएको थियो ।
आयातकर्ता सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालिले आयातित परिमाणमध्ये २३ हजार ४ सय २८ केजी बिक्री गरेको केन्द्र प्रमुख मदन थापाले बताए । सबैभन्दा बढी चितवनमा प्रशान्त एग्रो सेन्टरले १३ हजार १ सय ३७ किलो, कैलालीको आरएच एग्रोभेटले २३ सय ६७ किलो, कैलालीकै किसान एग्रोभेट सेन्टरले २० हजार ८५ किलो किसानलाई बिक्री गरेको देखिएको छ ।
बर्दियाको शिखा एग्रोभेटले ७२ किलो, लोहनी एग्रोभेटले ७२ किलो, बर्दियाकै चौधरी एग्रोभेटले ३६ किलो, सुलु एग्रोभेटले २ सय ८८ किलो, सिर्जना एग्रोभेटले १ सय ८८ किलो बीउ किसानलाई बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ । बाँकेको मुनाल एग्रोभेट कर्न्सनले १९ सय ३ किलो, दाङमा रहेको लालीगुराँस एग्रोभेट सेन्टरले ४ सय ४५ किलो, मिलन एग्रोभेट सेन्टरले ४ सय १९ किलो, जनता एग्रोभेटले १ सय ३७, स्वर्गद्वारी एग्रो नेपाल प्रालिले १ सय ४२, कपिलवस्तुको घिमिरे एग्रोभेट सेन्टरले १ सय ४४ किलो, दमौलीमा १७ सय ४२ किलो बिक्री भएको थियो ।
ती क्षेत्रमा वितरण गरिएको बीउ नक्कली परेको हो । नार्कले तयार पारेको प्रातिवेदनअनुसार गरिमा हाइब्रिड बीउको वंशाणुगत गुण किसानलाई वितरण गरिएको बीउको डीएन परीक्षणमा फेला परेन । ‘डीएनए फिंगरप्रिन्टको आधारमा तनहुँबाट ल्याइएको उचित समयमा पसाएको गरिमा हाइब्रिड र समस्या आएको गरिमा हाइब्रिडको डीएनएको ब्यान्ड एक आपसमा नमिलेको पाइयो, जसको आधारमा यी दुई धानका जात एकै हुन नसक्ने यकिन भयो,’ नार्कले तयार पारेको डीएनए परीक्षण रिपोर्टमा उल्लेख छ ।
बीउबिजन केन्द्रका अनुसार करिब १४ सय ६ हेक्टरमा गरिमाको खेती भएको छ । ‘विभिन्न जिल्लाबाट कट्ठा/कट्ठाको रिपोर्ट आउने क्रममा छ । अहिलेसम्म १४ सय ४ हेक्टरमा क्षति देखिएको छ,’ केन्द्र प्रमुख एवं क्षतिपूर्ति मूल्यांकन समिति संयोजक थापाले भने, ‘केन्द्रले प्रक्षेपण गरेको र जिल्लाबाट प्राप्त रिपोर्टमा भिन्नता छैन । थप अध्ययन/अनुसन्धान गरी पुष्टि गरेर मन्त्रालयमा पेस गर्छौं ।’
उनका अनुसार स्थानीय प्रतिनिधिको हस्ताक्षर/सहीछापपश्चात मात्रै क्षतिपूर्ति प्रक्रिया सुरु हुन्छ । धानको उत्पादन लागतको आधारमा क्षतिपूर्तिको लागत मन्त्रालयमा पेस गरिने उनले बताए । ‘यकिन तथ्यांक संकलन गर्न एक महिनाको समय अवधि छ । सकेसम्म छिटो नै क्षतिपूर्तिको प्रक्रिया टुंगो लगाउँछौं,’ सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै थापाले भने ।
प्रारम्भिक प्रतिवेदनअनुसार सबैभन्दा बढी चितवनमा ८ सय ७५.८ हेक्टरमा क्षति पुगेको छ । कैलालीमा १ सय ३९ हेक्टर, बाँके–बर्दियामा १ सय ७०.५३ हेक्टर, दाङमा ७६.२ हेक्टरमा क्षति भएको छ । कपिलवस्तुमा २६.३३ हेक्टर, तनहुँमा १ सय १६.१३ हेक्टरमा क्षति भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । कञ्चनपुर र नवलपरासीबाट भने क्षति वितरण संकलन भइसकेको छैन ।
केन्द्रका अनुसार गरिमा हाइब्रिड धान २०७२ सालमा दर्ता भएको थियो । यसको विशेषता पाक्ने अवधि १२० देखि १२५ दिन हुनु हो । बोटको उचाइ १ सयदेखि १०५ सेन्टिमिटर, उत्पादन क्षमता ५.८ देखि ६.३ टन छ । गरिमा हाइबिंडको मसिनो दाना हुन्छ । यो जातको सिफारिस क्षेत्र तराई र भित्री मधेसमा गरिएको छ । नार्कले भने अहिले किसानले लगाएको बीउको पाक्ने अवधि १५० देखि १६० दिन रहेको जनाएको छ । सरकारले क्षतिपूर्तिका लागि मूल्यांकनको अवधि १ महिना राखेको छ । समयअवधि धेरै लामो भएको सांसदहरूले बताए । ‘क्षतिपूर्तिका लागि १ महिना समय अवधि लामो भयो । किसानहरू निरुत्साहित बन्नुपर्ने अवस्था नआओस्,’ सांसद छविलाल विश्वकर्माले भने, ‘सरकार जिम्मेबारीबाट पन्छिन मिल्दैन । किसानलाई यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ ।’
सांसद शान्ता चौधरीले पनि मन्त्रालयको कमजोरी भएको बताइन् । किसानसँग प्रत्यक्ष जोडिएको विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । ‘यस्तो समस्या विगतमा पनि किसानले भोगेका थिए । अहिले पुनः दोहोरियो,’ उनले भनिन्, ‘यसलाई गम्भीर रूपमा लिनुपर्छ । मन्त्रालयले बढी सजगता देखाउनुपर्‍यो ।’ कृषि मन्त्रालयका सहसचिव रघुराम विष्टले किसानलाई एक महिनाभित्र क्षतिपूर्ति उपलब्ध गराउने गरी काम भइरहेको बताए । ‘क्षतिपूर्ति विधिअनुसार पर्याप्त नभए पनि उचित क्षतिपूर्ति दिन्छौं,’ उनले भने ।

अर्थ वाणिज्य

धानको मूल्यमा बिचौलिया हाबी

- कान्तिपुर संवाददाता

विराटनगर (कास)– संघीय सरकारले धानको न्यूनतम समर्थन मूल्य तोके पनि पूर्वी तराईका किसान बिचौलियाले कायम गरेको मूल्यमा धान बिक्री गर्न बाध्य छन् । सीमावर्ती भारतीय बजारको आधारमा बिचौलियाले मूल्य तोक्ने गरेकाले किसान मर्कामा पर्दै आएका छन् ।
भारतमा किसानले धान रोपाइँ गर्दा सरकारी अनुदान पाउँछन् । धान उत्पादन लागत न्यून हुने भएकाले मूल्य पनि कम हुन्छ । यहाँका किसानले भने सरकारी अनुदान त परको कुरा धान रोप्ने समयमा रासायनिक मलसमेत पाउँदैनन् । धान उत्पादन लागत पनि निकै बढी पर्छ । सरकारले यस वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ र मध्यम धानको न्यूनतम २६ सय ७३ रुपैयाँ तोकेको छ । बिचौलियाले भने मोटा धान प्रतिक्विन्टल २४ सय र मध्य धानको मूल्य हाललाई प्रतिक्विन्टल २५ सय रुपैयाँ तोकेपछि त्यही मूल्यमा धानको सुरुवाती खरिद बिक्री भइरहेको व्यापारीहरूको भनाइ छ ।
संघीय सरकारले तोकेकै समर्थन मूल्यलाई नै प्रदेश सरकारले पनि कार्यान्वयन गराउने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले बताए । विगतमा बिचौलियाले तोकेकै मूल्यले मान्यता पाउँदै आएको उल्लेख गर्दै आङवोले भने, ‘यसपालिदेखि बिचौलियाले तोकेको मूल्यमा नभई सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा कममा धानको खरिद बिक्री हुन नदिने प्रयास रहनेछ ।’

विराटनगरको अतिथि सदन अगाडि हरेक दिन साँझ बिचौलियाको भेलाले तोक्ने मूल्यकै आधारमा भोलिपल्ट मिलले धान किन्ने भएकाले किसान मर्कामा पर्दै आएका छन् । बिचौलियाले तोकेको मूल्य लागू नभए मिलले साना व्यापारीबाट धान नै किन्दैनन् । अतिथि सदन अगाडि हरेक साँझ प्रायः सबै राइस मिलसँग जोडिएका बिचौलिया भेला भएर आफ्ना मिलले खरिद गर्ने मूल्य सार्वजनिक गर्छन् । स्रोतका अनुसार उनीहरूले तोकेको मूल्य नै अन्तिम हुन्छ र त्यही मूल्यलाई स्थानीय सरकारी निकायले पनि समर्थन गर्दै आएका छन् ।
त्यो मूल्यमा किसानले धान बिक्री गर्दा बिचौलियाले आफूले तोकेको मूल्यमा मिलसँग कमिसन खान्छ । बाँकी रहेको मूल्यमा मिलले आफ्नो नाफा राखेर साना खरिद केन्द्रलाई मूल्य दिन्छ । त्यो मूल्यमा पनि साना खरिद केन्द्रले आफ्नो नाफा राखेर किसानको धान खरिद गर्छ । यस्तोमा किसानको धानमा तीन ठाउँमा कमिसन राखिने गरिएको स्रोतको दाबी छ ।

अर्थ वाणिज्य

माथिल्लो त्रिशूली १ मा ५१ अर्बको सम्झौता

- कान्तिपुर संवाददाता
माथिल्लो त्रिशूली १ प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत बो सक ई र आईएफसीका दक्षिण एसिया निर्देशक मेन्गिस्तु सम्झौता देखाउँदै । तस्बिर ः कान्तिपुर

(काठमाडौं) - रसुवामा निर्माण हुने २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा लगानीका लागि ९ वटा लगानीकर्ता र आयोजना प्रवर्द्धक कम्पनीबीच वित्तीय सम्झौता भएको छ । आयोजनामा अन्तर्राष्ट्रिय वित्त निमग (आईएफसी) को अगुवाइमा ४५ करोड ३० लाख डलर अर्थात् ५१ अर्ब १८ करोड रकम लगानी गरिने भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा र ऊर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बो सक ई र आईएफसीका दक्षिण एसिया निर्देशक मेन्गिस्तुले हस्ताक्षर गरेका हुन् ।
लगानी सम्झौतामा हस्ताक्षर भएलगत्तै आयोजनाको निर्माण सुरु हुने प्रवर्द्धक कम्पनीले जनाएको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका महाप्रबन्धक गिरिराज अधिकारीका अनुसार अबको ६ महिनाभित्र आयोजनाको निर्माण कार्य सुरु हुनेछ । निर्माण सुरु गरेको ५ वर्षभित्र आयोजनाको निर्माण पूरा गर्ने लक्ष्य छ । आयोजनाको कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर छ । आयोजना ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजीबाट निर्माण गर्न लागिएको हो ।
आयोजनामा विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले १६ करोड १३ लाख, एसियाली विकास बैंक (एडीबी) ले ६ करोड, एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले ३ करोड ९६ लाख, कोरियाली निर्यात–आयात बैंक (केएक्जिम) ले १० करोड, कोरिया डेभलपमेन्ट बैंक (केडीबी) ले ३ करोड ८ लाख डलर ऋण लगानी गर्नेछन् ।
यस्तै सीडीसी ग्रुप (सीडीसी) को २ करोड १९ लाख, नेदरल्यान्ड डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ) को १ करोड ५४ लाख, फ्रेन्च डेभलपमेन्ट फाइनान्सियल इन्स्टिच्युसन (प्रोपार) को १ करोड १० लाख र अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फन्ड (ओएफआईडी) को १ करोड ३२ लाख डलर ऋण लगानी रहनेछ ।
द बैंक अफ न्युयोर्क मेलनले ‘अफसोर एकाउन्ट’ र नेपाल इन्भेस्टमेन्ट बैंकले ‘अनसोर एकाउन्ट’ बैंकका रूपमा काम गर्ने वित्तीय सम्झौता समारोहमा जानकारी दिइयो । प्रवर्द्धक कम्पनीका अनुसार आयोजनाबाट वार्षिक रूपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदमा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमार्फट राष्ट्रिय प्रणालीमा जोडिनेछ ।
नेपाल सरकार र नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिबीच १४ पुस २०७३ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच १४ माघ २०७४ विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो । आयोजनाका लागि प्राधिकरणले व्यावसायिक विद्युत् उत्पादन भएको मितिले दस वर्ष वा ऋण चुक्ता अवधि जुन अघि हुन्छ सोहीसम्मको लागि डलरमा पीपीए गरेको हो । उक्त अवधिपछि नेपाली मुद्रामै भुक्तानी हुनेछ ।
प्राधिकरणले आयोजनाको विद्युत् सुक्खायाम र वर्षायाममा क्रमश ८.४० र ४.८० रुपैयाँ प्रतियुनिट दरमा खरिद गर्नेछ । स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली–१ लाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यवृद्धि पाउने व्यवस्था गरिएको छ । प्राधिकरणलाई विदेशी मुद्रा विनिमय जोखिम परे वा नपरे पनि कम्पनीले आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको १४ वर्षदेखि २६ वर्षसम्म ३ अर्ब २६ करोड ५४ लाख युनिट निःशुल्क ऊर्जा दिनेछ । यसको लागत करिब ५ अर्ब ६५ करोड हुने प्राधिकरणको अनुमान छ ।
डेलिम इन्ड्रस्ट्रियल कम्पनी लिमिटेड र क्येर्योङ कन्ट्रक्सन इन्ड्रस्ट्रियल कम्पनी लिमिटेडको संयुक्त उपक्रमले इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा आयोजनाको निर्माण गर्नेछ । अहिले आयोजनाको निर्माणपूर्वका कार्यहरू प्रवेश सडक, कार्यालय तथा आवास गृह निर्माण, त्रिशूली नदीमा बेलिब्रिज राख्नेलगायतका कार्य भइरहेको आयोजनाको प्रवर्द्धक कम्पनीले जनाएको छ ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिमा कोरियन कम्पनीहरू कोएनको ५० प्रतिशत, डेलिमको १५ प्रतिशत तथा क्येर्योङको १० प्रतिशत, आईएफसीको १५ प्रतिशत र नेपाली साझेदारको १० प्रतिशत सेयर लगानी रहेको छ । साथै आयोजना प्रभावित स्थानीय जनताका लागि अधिकतम १० प्रतिशत सेयर लगानी सुनिश्चित गरिएको छ ।

 

Page 12
अर्थ वाणिज्य

गोदाममै थन्कियो टिमुर

- कान्तिपुर संवाददाता

(ताप्लेजुङ) - भारत निर्यात गर्न गत वर्ष संकलन गरिएको १० टन टिमुर गोदाममै थन्किएको छ । जिल्ला वन कार्यालयवाट इजाजत लिएर संकलन गरिएको टिमुर झापाको बिर्तामोडस्थित गोदाममा थन्किएको हो ।
भारतीय व्यापारीलाई बेच्न झापा झारिएको भए पनि माग नआएका कारण गोदाम भाडामा लिएर थन्क्याउनुपरेको व्यापारी सविन बानियाँले बताए । उनका अनुसार गत वर्षको मूल्यमा अहिले प्रतिकिलो १ सय ५० रुपैयाँ कम मूल्य राखिएको छ । तैपनि भारतीय व्यापारी लैजान तयार छैनन् । ‘गत वर्ष मैले ५५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेको थिएँ,’ बानियाँले भने, ‘यो वर्ष ४ सय रुपैयाँमा लैजानुस् भने तर किन्नेहरूले केही समय पर्खन भनेका छन्, किनेका छैनन् ।’ यसरी पर्खाएको छ महिनाभन्दा बढी समय भएको बानियाँले बताए ।
उत्पादकलाई दिएको मूल्य, ढुवानी र गोदामले गर्दा मूल्य उच्च भए पनि बिक्रीमै समस्या भएकाले घाटा खाएर बेच्नुपर्ने बाध्यता रहेको बानियाँले बताए । यो टिमुर पहाडका ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुमलगायत जिल्लामा संकलन गरिएको हो । डिभिजन वन कार्यालय ताप्लेजुङका अधिकृत चन्द्र राइका अनुसार संकलन गर्नुअघि प्रतिकिलो २ रुपैयाँ राजस्व बुझाउनुपर्छ । बैंकमा दाखिला गरेको भौचर बुझाएपछि कार्यालयले इजाजत अनुमति पत्र दिने गरेको छ ।
राईका अनुसार आयुर्वेदिक औषधि बनाउन र अचारमा राख्ने मसलाका रूपमा भारतमा यसको प्रयोग हुन्छ । ‘ठयाक्कै के प्रयोजनका लागि लगिन्छ थाहा छैन ।’ सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कृष्ण ओझाका अनुसार रोग, किरा नियन्त्रण गर्ने विषादीमा यसको प्रयोग गरिन्छ । पहाडमा सिलटिमुर, बोके टिमुर र औले टिमुर गरी तीन खालको हुने ओझाको भनाइ छ ।
टिमुर अहिलेसम्म नेपालबाट भारतमा मात्रै निर्यात हुने गरेको छ । जलवायु परिवर्तन र जडीबुडीसम्बन्धी तालिम सञ्चालन गर्दै पश्चिम नेपालसम्म पुगेका ओझाका अनुसार दोलखालगायत केही जिल्लाका व्यापारीहरूले जहाजमार्फत कतारलगायतका खाडी राष्ट्रमा पठाउने प्रयास गरे पनि सफल भएको छैन । ‘यसको उपयोगिताका विषयमा त्यहाँ जानकारी गराएर पठाउन प्रयास भइरहेको छ । तर, सफल भइसकेको छैन,’ ओझाले भने, ‘तेस्रो मुलुक पठाउने व्यवस्था नमिलाएसम्म मूल्यमा समस्या भइरहन्छ ।’

अर्थ वाणिज्य

चिया क्षेत्रको समस्या समाधान गर्न माग

- कान्तिपुर संवाददाता

तेह्रथुम (कास)– विभिन्न समस्याले चिया खेती प्रभावित भएको भन्दै यहाँका किसानले समस्या समाधानको माग गरेका छन् । उत्पादनमा गिरावट, हरियो पत्तीको बिक्री मूल्य नहुनु, मजदुर अभाव, रोगव्याधी बढ्नु, युवा पुस्ताको आकर्षण नहुनुजस्ता कारणले चिया खेतीमा टिक्न समस्या भएको उनीहरूले बताए ।
सोल्मा तेह्रथुमस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चियाकफी विकास कार्यालयले चिया किसान, चिया कफी उत्पादक सहकारी संस्था, चिया उद्यमी, जनप्रतिनिधिलगायतका लागि आयोजना गरेको समन्वय बैठकमा किसानले यस्तो गुनासो राखेका हुन् । जिल्लाका लालीगुराँस र म्याङलुङ नगरपालिका, मेन्छ्यायाम र छथर गाउँपालिकाका चिया किसान, उद्यमी, सरोकारवाला र जनप्रतिनिधिको बैठकमा सहभागिता थियो । बैठकमा भेला भएका ५० जनाभन्दा बढी किसानले स्थानीय सरकारले समेत चिया खेतीका लागि सहयोग नगरेको अरोप लगाए । जनप्रतिनिधिकै अगाडि किसानले ‘अन्य कृषि उत्पादनलाई अनुदान र सहयोग दिने तर चियामा किन नदिने ?’ भनेर प्रश्न गरेका थिए । स्थानीय तहले कृषि क्षेत्रका लागि विनियोजित गरेको बजेट एक पैसा पनि चिया खेतीका लागि नदिएको चिया किसानसमेत रहेका सिंहदेवी चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष टेकबहादुर केप्छाकीले बताए । ‘चिया खेती स्थानीय सरकारको समेत उपेक्षामा परेको छ,’ उनले भने ।
अर्गानिक हरियो पत्ती उत्पादन गर्दै आएका जिल्लाका १ हजार २ सयभन्दा बढी किसानले मूल्यसमेत कम पाएको गुनासो गरेका छन् । यहाँ ३ हजार ८ सय २५ रोपनी क्षेत्रफलमा चिया र कफी खेती हुने गरेको छ । लालीगुराँस नगरपालिकाको सोल्मामा मात्र ३ सय ५० भन्दा बढी किसान चिया खेतीमा आबद्ध रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चियाकफी विकास कार्यालयका प्रमुख केन्द्रकुमार लिम्बुले बताए ।
सोल्मामा कार्यालय रहेको बोर्डले संखुवासभाका धर्मदेवी, मादी र चैनपुर नगरपालिकामा हुने चिया खेतीको समेत रेखदेख गर्दै आएको छ । तेह्रथुम र संखुवासभामा गरी ४ हजार ९ सय ७६ रोपनी क्षेत्रफलमा अर्गानिक चिया खेती हुँदै आएको बोर्डका प्रमुख लिम्बुको भनाइ छ । तेह्रथुममा मात्र ११ वटा सहकारी संस्थामा आबद्ध किसानले हरियो पत्ती उत्पादन गरी बेच्दै आएका छन् ।
जिल्लामा ५ वटा टी–स्टेट र ४ वटा प्रशोधन कारखाना सञ्चालनमा छन् । चिया खेतीमा बढी श्रमिक चाहिने भएकाले पछिल्लो समय गाउँमा चिया मजदुर नै पाइन छाडेकाले समस्या भएको लालीगुराँस नगरपालिका–९ सोल्माका किसान डिल्लीराम खनालले बताए । चिया खेतीमा मजदुर अभाव हुँदा खेती विस्तारमै समस्या भएको उनको गुनासो छ । ०४२ देखि आफूले चिया खेती सुरु गरेर ०७६ सालसम्म आइपुग्दा पनि चिया किसानका समस्याको समाधान नभएको खनालले बताए ।

अर्थ वाणिज्य

४२ प्रतिशत निजी घर पुनर्निर्माण बाँकी

एकैठाउँमा २ वटा घर भएका, जग्गाको विवाद, बहुस्वामित्व जस्ता समस्याले गर्दा पुनर्निर्माण सुरु हुन बाँकी छ
- विमल खतिवडा

(काठमाडौं) - भूकम्प गएको साढे चार वर्ष बितिसके पनि करिब ४२ प्रतिशत निजी घर पुनर्निर्माणको काम बाँकी छ । प्राधिकरणको सर्वेक्षणअनुसार ८ लाख १६ हजार ४ सय ५० निजी घरहरूमा भूकम्पले पूर्ण रूपमा क्षति पुर्‍याएको थियो ।
यसमध्ये करिब ५८ प्रतिशत अर्थात् ४ लाख ७१ हजार ६ सय ९९ घरको निर्माण सम्पन्न भएको छ । अब करिब ४२ प्रतिशत (३ लाख ४४ हजार ८ सय ४१) घर बन्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सहरी क्षेत्रमा निर्माणको प्रगति केही कम देखिए पनि उपत्यका बाहिर भने तीव्र रूपमा काम भइरहेको छ ।
‘१४ महिना (०७७ पुस) भित्र निर्माणको काम सकिसक्नुपर्नेछ,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने । ज्ञवालीका अनुसार अपांग, बालबालिका, ज्येष्ठ नागिरक मात्र भएका परिवारको घर पुनर्निर्माणका केही समस्या देखिएको छ । उनीहरूका लागि थप ५० हजार दिइनेछ । यसका लागि स्थानीय तह, गैरसरकारी संस्थासँग समन्वय गर्नुपर्ने हुन्छ । दोहोरोपन, नक्कली पीडितहरूको दाबीलगायत कारणले पनि कतिपय घरहरू बन्न नसक्ने र त्यो तथ्यांकमा हेर्दा प्रगति कम भएजस्तो देखिएको प्राधिकरणले जनाउँदै आएको छ । ‘लाभग्राही घर दोहोरिएका पनि हुन सक्छन् ।


कति घर बनेनन्
एकैठाउँमा २ वटा घर भएका, जग्गाको विवाद, बहुस्वामित्व जस्ता समस्याले गर्दा ठाउँठाउँमा पुनर्निर्माण सुरु हुन बाँकी छ । त्यस्तै सम्पदा झल्काउने निजी बस्तीहरूमा गुरुयोजना बनिरहेकाले त्यस्ता क्षेत्रमा घरहरू निर्माण सुरु हुन केही समय लाग्नेछ । केहीले पहिलो किस्ता बुझेर पनि घर बनाएका छैनन् । केहीले नक्कली पीडितका रूपमा समेत रकम बुझेका छन् । ‘यसबारे सबै बुझ्ने काम भइरहेको छ,’ उनले भने ।
निजी आवास पुनर्निर्माणमा १ खर्ब ५५ अर्ब ६५ करोड ४६ लाख खर्च भइसकेको छ । निजी आवासमा दोस्रो किस्ता लिने ७८ प्रतिशत र तेस्रो किस्ता लिने ६४ प्रतिशत छन् । समग्र पुनर्निर्माणमा अहिलेसम्म पौने ३ खर्ब खर्च भएको छ । निजी आवासतर्फ ७ लाख ७६ हजार ९ सय १६ ले अनुदान सम्झौता गरेका छन् । अहिलेसम्म पहिलो किस्ता लिने ७ लाख ६८ हजार ५ सय ५५, दोस्रो किस्ता लिने ६ लाख १२ हजार ३ सय ९७ र तेस्रो किस्ता ५ लाख ९ हजार ८ सय ८६ रहेको छ ।
अति प्रभावित १४ र कम प्रभावित १८ जिल्ला छन् । भूकम्प प्रभावित ३१ जिल्लामा ५८ प्रतिशत घर पुनर्निर्माण सम्पन्न भए पनि ललितपुरमा ३२ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । ज्ञवालीका अनुसार अहिलेसम्म सम्पदा निर्माणको काम ४० प्रतिशत मात्र भएको छ ।

अर्थ वाणिज्य

कृषि उपज केन्द्रको डीपीआर तयार

- अमृता अनमोल

(बुटवल) - यहाँ प्रस्तावित आधुनिक कृषि उपज तथा थोक बजार प्रवर्द्धन केन्द्रको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको छ । कृषि बजारलाई बिचौलियामुक्त बनाउने र किसानलाई लागतअनुसार मूल्य उपलब्ध गराउने उद्देश्यले बुटवल उपमहानगरपालिका–१६ र सैनामैना नगरपालिका–१ को बीच भागमा पर्ने डहरगाउँ कर्साघाटमा कृषि केन्द्र बन्न लागेको छ । त्यसका लागि संघीय सरकारअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्रले ६ महिना लगाएर विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको हो ।
३० बिघा जमिनमा बन्ने केन्द्रबाट कृषि उपजको संकलन, भण्डारण, प्रशोधन र बिक्री वितरण हुनेछ । प्रतिवेदनअनुसार २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ लागतमा आधुनिक कृषि उपज तथा थोक बजार प्रवर्द्धन केन्द्र निर्माण हुनेछ । त्यसअनुसार बजारका संरचना बनाउन १ अर्ब ६५ करोड खर्च गरिनेछ । ३४ वटा ब्लक निर्माण हुनेछन् । विभिन्न ६ वटा गोदाम घर बन्नेछन् । एक लाख टन क्षमताको खाद्यान्न बालीको गोदाम रहनेछ । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम–घर बन्नेछ । यसबाहेक खाद्य, तरकारी, फलफूल राख्न शीत भण्डार गृह, तिनको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, बायोग्यास उत्पादन केन्द्र, फोहर प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिनेछ । पशुजन्य बिक्रीका लागि छुट्टै क्वारेन्टाइन भवन बन्नेछ । जिउँदो माछा बिक्री केन्द्र नै तीनवटा बन्नेछन् । एक सय टनसम्म जोख्न सक्ने धर्मकाँटा राखिनेछ ।
केन्द्रमा किसानले उत्पादन गरेका कृषि र पशुपन्छीसम्बन्धी सम्पूर्ण उत्पादनको खरिद बिक्रीको व्यवस्था मिलाइनेछ । उत्पादित कृषि उपजको बजार मूल्य कम भएको समयमा गोदाम घरमा भण्डारण गरिनेछ । बजार मूल्य वृद्धि हुँदा किसानले आफैं गोदामबाट बाहिर निकालेर व्यापारीलाई बिक्री गर्न सक्ने कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्रका प्रमुख तथा सहसचिव प्रकाशकुमार सञ्जेलले बताए । उनका अनुसार बजार, गोदाम, प्रशोधन केन्द्र सहकारीमा आधारित हुनेछन् । केन्द्रमा बिक्री हुन नसकेका कृषि उपज र पशुपन्छी प्रशोधन गरिनेछ । सुविधाका लागि बजारभित्रै पेट्रोल पम्प रहनेछ । गेस्ट हाउससहितको एक होटल, एक चमेनागृह र पाँचवटा शौचालयको समेत प्रस्ताव गरिएको छ ।
केन्द्र बन्न लागेको डहरगाउँ कर्साघाट दानव नदीको उकास क्षेत्र हो । जहाँ अहिले चरण क्षेत्र र बुट्यान छ । बजार नजिकको दानव नदी नियन्त्रणका लागि सात करोड रुपैयाँ छुट्याइएको छ । यसबाट आरसीसीसहितको रिटेनिङ वाल लगाइनेछ । बजारमा पस्ने र निस्कने तीनवटा द्वार बन्नेछन् । बुटवलको तामनगरबाट पस्ने र सैनामैनाबाट निस्कने सडक बनाइनेछ । केन्द्रदेखि बुटवल र सैनामैनाको चक्रपथसँग जोड्ने सडक बनाइनेछ । उक्त सडक निर्माणका लागि ४२ करोड रुपैयाँ आवश्यक पर्ने केन्द्र प्रमुख सञ्जेलले बताए । डीपीआरलगत्तै चालु आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकन गरिनेछ । उक्त काम ६ महिनाभित्र पूरा गरी चालु आर्थिक वर्षमै निर्माण प्रक्रिया थालिने प्रमुख सञ्जेलले बताए ।
डीपीआरसँगै पाँच वर्षमा निर्माण सक्ने गरी पञ्चवर्षीय गुरुयोजनासमेत निर्माण गरेको छ । यसमा संघीय सरकार, प्रदेश र स्थानीय तहले लगानी गर्ने प्रस्ताव गरिएको छ । केही समयअघि भएको लगानी सम्मेलनमा नेदरल्यान्ड्स सरकारले कृषि क्षेत्रमा १६ अर्ब लगानी गर्ने प्रस्ताव गरेको थियो । बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले उक्त लगानी यहाँ ल्याउनसमेत संघीय सरकारले प्रस्ताव गरेको बताए । ‘स्थानीय तहबाट गर्नुपर्ने लगानीमा यहाँका निजी क्षेत्र र सहकारीलाई समेत समावेश गर्ने गरी छलफल अगाडि बढाएका छौं,’ उनले भने, ‘दुवै क्षेत्र लगानी गर्न सकारात्मक देखिएका छन् ।’
केन्द्र वरिपरि उत्पादनका आधारमा करिडोर निर्माण हुनेछ । बजारको स्वामित्वमा रहने गरी कृषि उपज ढुवानी गर्ने सवारीसाधन उपलब्ध गराइनेछ । ठूला किसानदेखि एउटा काँक्रो र एक मुठा सागसम्म खेतबाटै संकलन गरी बजारसम्म पुर्‍याउने जिम्मेवारी केन्द्रलाई दिने गरी प्रस्तावना तयार भएको छ । बिचौलियाबाट हुँदै आएको कृषि उत्पादनमाथिको नियन्त्रण किसानलाई दिन यसो गरिएको हो । ‘यसले किसान र बजारको बीचमा भएको बिचौलियाको दबदबा हटाउन सकिनेछ,’ सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले भने ।

Page 13
समाचार

अघि बढेन २७ नयाँ सहर निर्माण

- दीपेन्द्र विष्ट

(काठमाडौं) - सरकारले ६ वर्षअघि पहिलो चरणमा मध्यपहाडी राजमार्गमा पर्ने १० वटा र गत वर्ष थप १७ वटा सहरलाई सुविधासम्पन्न र आधुनिक सहरका रूपमा विकास गर्नेर् घोषणा गर्‍यो । तर न्यून बजेट र स्थानीय तहको सहयोग नहुँदा नयाँ सहर निर्माण अलपत्र परेको छ ।
‘स्थानीय तहले समन्वय गर्दैनन्,’ सहरी विकास मन्त्रालय एक अधिकारीले भने, ‘सरकारको अवधारणा राम्रो हो तर समन्वय तथा पर्याप्त बजेट छैन । हचुवाका भरमा घोषणा गरेर मात्रै केही हुँदैन, पूर्वाधार विकास हुनुपर्छ ।’ पहिलेका १० सहरमा हल्का काम भए पनि पछिल्लो पटक घोषणा गरिएका सहरमा कुनै काम नभएको ती अधिकारीले बताए ।
आर्थिक वर्ष ०७६/७७ मा सरकारले २७ नयाँ सहर र १० वटा स्मार्ट सिटीका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । नयाँ सहर आयोजनाका अधिकारीहरूका अनुसार एक सहरलाई पूर्ण रूपमा विकास गर्न झन्डै ५ अर्ब रुपैयाँ लाग्छ । ‘सरकारको अवधारणा राम्रो हो तर बजेट न्यून छ,’ नयाँ सहर आयोजनाका इन्जिनियर शशि यादवले भने, ‘पर्याप्त बजेट भए विकास गर्न गाह्रो छैन ।’
मध्यपहाडी लोकमार्ग आसपास निर्माण भइरहेका सहरमा सरकारले २० वर्षमा प्रत्येक सहरमा एक लाख जनसंख्या बसाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरेको हो ।
त्यसैगरी झापाको गौरीगन्ज, मोरङको रंगेली, महोत्तरीको बलवा, महोत्तरीकै मनरा, सर्लाहीको ब्रह्मपुरी, सर्लाहीकै ईश्वरपुर, सप्तरीको शम्भुनाथ, रौतहटको मौलापुर र कटरिया, बाराको महागढी, नवलपरासीको बर्दघाट, प्यूठानको भिंग्री, दाङको गढवा, बर्दियाको राजापुर नयाँ, सुर्खेतको भेरीगंगा, कैलालीको भजनी र कञ्चनपुरको बेलौरीलाई गत वर्ष नयाँ सहर घोषणा गरेको हो ।
नयाँ सहरमा भौतिक संरचना निर्माण अघि बढेपछि आर्थिक गतिविधि पनि तीव्र रूपमा बढिरहेको नयाँ सहर आयोजनाका प्रमुख रमेश थपलियाले बताए । ‘मानिसले सुविधाका लागि बसाइँ सर्ने हो, ती सहरमा शिक्षा, स्वास्थ्य, सडक, बिजुली, मनोरञ्जनलगायत भौतिक पूर्वाधार निर्माण गर्छौं,’ उनले भने, ‘मध्यपहाडी राजमार्ग कालोपत्रेको काम पनि तीव्र रूपमा भइरहेको छ, आवासका लागि हावापानी उपयुक्त छ ।’ सहर घोषणासँगै त्यस क्षेत्र आसपासका बासिन्दाको जीवनस्तरमा पनि परिवर्तन देखिन थालेको इन्जिनियर शशि यादवले बताए । पछिल्लोपटक घोषणा भएका सहर पनि आर्थिक, धार्मिक, सांस्कृतिक पर्यटनका लागि महत्त्वपूर्ण भएको उनले बताए । ‘प्रत्येक सहरलाई आर्थिक रूपले भाइब्रेन्ट सहरका रूपमा विकास गर्ने सरकारको लक्ष्य छ,’ उनले भने, ‘त्यसैअनुसार विकास भइरहेको छ, प्रगति नभएको होइन, बजेट अपुग भएको हो ।’
नयाँ स्थानीय तहअनुसार सहरको क्षेत्रफल विस्तार गरेर पूर्वाधार निर्माण अघि बढाएको छ । दैलेखको राकम कर्णाली नयाँ सहरमा स्थानीय निकायले सहयोग नगर्दा कुनै प्रगति नभएको उनले बताए । मध्यपहाडी राजमार्गका १० वटा सहरको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी दिँदै उनले अन्य १७ वटाको तयारी चरणमा रहेको बताए ।
स्थानीय तहको क्षेत्र विस्तार भएपछि भौतिक पूर्वाधारबारे थप अध्ययन गरेर आवश्यक संरचना निर्माण अघि बढाएको सहरी विकास तथा भवन निर्माण विभागका आयोजनाका प्रमुख थपलियाले बताए । ‘गाविसहरू गाभिएर नगरपालिका भएका छन्,’ उनले भने, ‘क्षेत्रफल बढ्यो, कुन संरचना कहाँ राख्ने भन्ने निर्धारण गर्नैपर्छ । त्यसरी नै अध्ययन पनि भएको छ ।’
साविकका ५ वा त्यभन्दा बढी स्थानीय तहलाई गाभेर क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गरिँदै छ । त्यसकारण ती वरपरका बासिन्दा पनि निकै लाभान्वित हुने उनले बताए । उसै पनि विगतदेखि यी सहर आर्थिक गतिविधि हुने सहरका रूपमा मानिन्छन् । सामरिक तथा भौगोलिक हिसाबले पनि महत्त्वपूर्ण छन् ।

समाचार

झस्किरहन्छन् द्वन्द्वपीडित

‘दाउरा काटेर ज्यान पाल्ने गरिब किसानलाई मारेर कसले के पायो खै ? गोली हान्नेलाई कारबाही भए मृतकको आत्माले शान्ति पाउँथ्यो ।’
- दुर्गालाल केसी
सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षले तेजाब हालिदिँदा दुवै आँखा गुमाएका रुकुमको खोलागाउँका गोपालप्रसाद शर्मा (बायाँ), यातनाले बायाँ खुट्टा गुमाएका सल्यानको कालिमाटीका भूपेन्द्र खत्री (बीचमा) र सेनाले यातना दिई छाडेका तुलसीपुर पहरुवाका बलसन्द्रा चौधरी । तस्बिर ः दुर्गालाल/कान्तिपुर

(दाङ) - चौरजहारी नगरपालिका–११ खोलागाउँ रुकुम पश्चिमका गोपालप्रसाद शर्माका दुवै आँखा बन्द छन् । खोलागाउँ गाविसका अध्यक्ष भइसकेका शर्माका आँखा २०५५ साउन ११ गतेसम्म ठीक थिए । त्यस दिन राति आएको तत्कालीन विद्रोही माओवादीको समूहले उनलाई मरणासन्न हुने गरी
पिट्यो र अन्त्यमा आँखामा तेजाब हालिदियो । त्यसपछि उनले संसार देख्न छाडे ।
कांग्रेसका तत्कालीन महासमिति सदस्य तथा खोलागाउँका पूर्वगाविस अध्यक्ष भएका कारण उनलाई माओवादीले आक्रमण गरेका थिए । शर्मा बेहोस भएर लडेपछि माओवादीहरू घरबाहिर बम पड्काएर भागे । उनलाई भोलिपल्ट जहाजबाट काठमाडौं शिक्षण अस्पताल लगियो । ‘सात दिनपछि होस आउँदा म छाँगाबाट खसेझैं भएँ । मैले कतै केही देखिनँ । सबैतिर अन्धकार थियो,’ उनले भने, ‘नौ महिना उपचार गर्दा पनि आँखाको ज्योति नआउने पक्का भयो । त्यसपछि मलाई सबथोक सकिए जस्तो लाग्यो ।’
द्वन्द्वकालमा गाउँ जाने अवस्था भएन । उनले बाँकेको कोहलपुरमा विस्थापित जीवन बिताए । अहिले पनि १ हजार ७ सय वर्गमिटर जग्गा कब्जामा रहेको शर्मा बताउँछन् । उनी अहिले कहिले कोहलपुर, कहिले रुकुम घुमफिर गर्छन् । श्रीमती विष्णु शर्मा उनको सहारा भएकी छन् । ‘आफैं हिँड्डुल गर्न सक्ने अवस्था छैन । मैले हात समाएर हिँडाइरहेकी छु,’ विष्णुले भनिन्, ‘२१ वर्षदेखि यसैगरी जीवन चलेको छ । केही गल्तीबिना यत्रो सजाय भोग्नुपर्‍यो ।’
सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी दिए पनि त्यसमा केही सुनुवाइ हुन नसकेकामा शर्मा दुःखी छन् । ‘हामीलाई खेलौना बनाइयो । अहिलेसम्म हाम्रो आवाज कसैले सुनेको छैन । हामीले आँखा गुमायौं, यातना भोग्यौं, घरबारविहीन भयौं,’ उनले भने, ‘तर हामीलाई न्याय दिन कोही तयार भएन । हाम्रो समस्या बुझिदिने कोही भएन । अहिले दैनिक जीवन चलाउनसमेत समस्या छ ।’
सल्यान, कालिमाटीका भूपेन्द्र खत्री बैसाखीको सहारामा हिँड्डुल गर्छन् । उनको बायाँ खुट्टा घुँडादेखि तलतिर छैन । २०५८ माघ १६ गते राति सुतिरहेका बेला माओवादी आए, उनलाई उठाए, श्रीमतीलाई घरको थाममा बाँधे अनि खत्रीलाई लिएर गए । आधा किलोमिटर टाढा पुगेपछि उनलाई सुताए । खुट्टामुनि ढुंगा राखे अनि माथिबाट फलामको घनले थिचे । त्यसपछि उनको बायाँ खुट्टा काट्नुपर्‍यो । कांग्रेसका तर्फबाट कालीमाटी गाविसका पूर्वअध्यक्ष भएका कारण उनलाई कारबाही गरिएको थियो ।
अहिलेसम्म उनलाई त्यो घटनाको घाउ दुखिरहन्छ । ‘निजी खर्चमा खुट्टाको उपचार गरियो । काठमाडौंको बीएन्डबी अस्पतालमा बसेर उपचार गर्दा लाखौं रुपैयाँ खर्च भयो । तर कसैले हेरेन,’ उनले भने, ‘हामी गाउँघरमा दुःख गरी बसिरहेका निर्दोष मानिसलाई यत्रो सजाय दिइयो । हाम्रो जीवन बर्बाद भयो तर कुनै पनि सरकारले हाम्रो समस्या सुन्न चाहेन ।’ घटना पुरानो हुँदै गए पनि घाउ बल्झिइरहने गरेको उनले बताए । ‘युद्धको घाउ कहिल्यै निको हुँदैन । बेलाबेला बल्झिरहन्छ,’ खत्रीले भने, ‘हामीलाई अपांग बनाउने दोषीलाई कारबाही नहुँदासम्म मनले शान्ति पाउँदैन ।’
दाङको तुलसीपुर उपमहानगरपालिका–१५ पहरूवाका बलसुन्द्रा चौधरी विगतको घटना सम्झिँदा पनि विक्षिप्त हुन्छन् । ०५९ भदौ २१ गते दिउँसो थारू परम्पराअनुसार गुरुवाको पूजा गरिरहेका बेला सेना आएर नौ जना थारू किसानलाई पक्रियो । सबैलाई बाटोभरि यातना दिँदै लगियो । त्यही क्रममा उनलाई मरणासन्न हुने गरी पिटियो । मर्‍यो भनेर बाटोमै फालियो । ‘पछि होसमा आउँदा हातखुट्टा लागिरहेका थिएनन् । जीउ थर्थरी काँपेको थियो,’ उनले भने, ‘बल्लबल्ल उठेर गाउँसम्म गएँ अनि गाउँमा सुरक्षा नभएपछि भारततिर पसेँ । लामो समयसम्म घर फर्कन सकिनँ ।’
उनीसँगै लगिएका अन्य आठ जना अझै पनि बेपत्ता सूचीमा छन् । उनलाई त्यो घटनाले अहिले पनि तर्साउँछ । घटना सम्झेर बेचैन हुन्छन् । ‘त्यो दिन सम्झियो भने हातखुट्टा लाग्न छोड्छन् । केही कामै गर्न मन लाग्दैन,’ उनले भने, ‘अहिले पनि डर लाग्छ । अरू साथीलाई कसरी कता लगियो होला भन्ने लाग्छ । उनीहरूका घरपरिवार पनि ठूलो पीडामा छन् ।’ खेतीकिसानी गरेर जीविका चलाइरहेका थारू किसानलाई एक ठाउँमा जम्मा भएको भनेर बेपत्ता बनाइएको उनले बताए । ‘हामी आफ्नो संस्कारअनुसार पूजा गरिरहेका थियौं । कुनै अपराध गरेका थिएनौं,’ उनले भने, ‘बिनाकारण हामीलाई समातियो । असह्य यातना दिइयो ।
बेपत्ता पारियो ।’


दाङको दंगीशरण गाउँपालिकास्थित कौवाघारीका छविलाल सार्कीको पीडा पनि हृदयविदारक छ । २०५९ साउन १६ गते बिहान ७ बजेतिर कौवाघारी गाउँका १३ जना सार्की दाजुभाइ हलो, जुवा काट्न खुकुरी, बन्चरो बोकेर दक्षिणपट्टिको राजाकोट जंगलतिर उकालो लागेका थिए । केही उकालो चढेर डाँडामा थकाइ मारिरहेका बेला राजाकोटमा रहेको नेपाली सेनाले चारैतिरबाट घेरा हाल्यो । माओवादी आरोपमा सबैलाई पक्राउ गरी सैनिक क्याम्पमा लग्यो । केहीबेर राखिसकेपछि ५० मिटर ओरालो झारेर लाइन लगाइयो, कपडा खोल्न लगाइयो र गोली हान्ने तयारी भयो । उनी आत्तिएर भीरबाट हाम्फाले । चारैतिर गोली बर्सियो तर पनि उनी भाग्यले बाँचे । अरू १२ जनाको एउटै चिहान भयो ।
त्यसपछि उनी घर बस्न सकेनन् । भारततिर लागे । शान्ति प्रक्रियापछि २०६३ सालमा मात्र उनी घर फर्के । ‘घर बस्न मन लागेन । पुरानो घटनाले झनै सतायो । फेरि भारतमै फर्कें,’ उनले भने, ‘चार वर्ष बसेर मात्र घर फर्कें । गाउँ बस्दा झनै डर लाग्थ्यो । घरमा मनै बसेन ।’ श्रीमती र छोराछोरीले धेरै अनुरोध गरेपछि मात्र उनी घर बस्न थाले । ‘अहिले पनि घटना सम्झिँदा तर्सिन्छु,’ उनले भने, ‘हामी दाउरा काटेर ज्यान पाल्ने गरिब किसानलाई मारेर सरकारले के पायो होला गोली हान्नेलाई कारबाही भए मर्नेको आत्माले शान्ति पाउँथ्यो ।’
जिल्लामा सेनाबाट माओवादीको नाममा सामूहिक रूपमा सर्वसाधारण मारिएका यस्ता धेरै घटना छन् । घोराहीको बेलुवामा ९, तुलसीपुरको फूलबारीमा ६, दंगीशरणको गोल्टाकुरीमा १२ र तुलसीपुरको पहरूवामा आठ जना एकसाथ मारिएका छन् । उनीहरूको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले समेत अध्ययन गरी निर्दोष मारिएको निष्कर्ष निकालिसकेको छ । इन्सेकको तथ्यांकअनुसार द्वन्द्वकालमा राप्तीका पाँच जिल्लामा राज्यबाट १ हजार ६ सय ८ र माओवादीबाट १ सय ६१ जना सर्वसाधारणको हत्या भएको छ । यसैगरी देशभरिबाट ८ हजार २ सय ५८ र माओवादीबाट २ हजार ६ सय ३४ सर्वसाधारणको हत्या भएको छ ।

समाचार

बिमाले उजाडेको घरबार

बिमाबापतको एक करोड रुपैयाँ हत्याउन श्रीमतीको योजनाबद्ध हत्या गर्दा श्रीमान् जेल गए, दुई छोराछोरीको बिचल्ली भयो
- दीपक परियार
आफ्नै छोरा रमेशको योजनामा हत्या गरिएकी बुहारी लक्ष्मी नेपालीको फोटो देखाउँदै जुनामाया परियार ।तस्बिर ः दीपक/कान्तिपुर

(पोखरा) - श्रीमान्को मोबाइल पसल, श्रीमतीको कुखुरा फार्म । एक छोरी र एक छोरा । पोखरामा तीनतले घर । जीवन हाँसीखुसी चलिरहेको थियो, बीचमा बिमा पस्यो । भविष्य सुरक्षित हुने आशामा जीवन बिमा गरेकी पोखरा–१५ की लक्ष्मी नेपाली (परियार) को जीवनै रहेन । बिमा बापतको एक करोड रुपैयाँ हत्याउन श्रीमान् रमेश नेपालीले बुनेको हत्याको जालमा परिन् उनी । श्रीमान् जेल गए, दुई छोराछोरीको बिचल्ली भयो । बिमा अभिकर्ता, बिमा कम्पनीको शाखा कार्यालय र रमेशको मिलेमतोको सुइँको लक्ष्मीले पाइनन् ।
आफ्नै योजनामा श्रीमतीको हत्या गरेर प्रहरीकोमा श्रीमती हराएको निवेदन दिएका रमेशको कर्तुत लामो समय टिकेन । पोखरा रामबजारबाट असार १ मा हराएकी लक्ष्मीको कंकाल २५ दिनपछि पुम्दीभुम्दीको जंगलमा भेटियो । साली नाता पर्नेसँग रमेशको ‘लसपस’ भएको शंका पाएको प्रहरीले केरकार गर्दा उनैले कंकालसम्म पुर्‍याए । उनलाई हिरासतमा लिएर अनुसन्धान गर्दा प्रहरीलाई नै चकित पार्ने तथ्य पत्ता लाग्यो । उनले श्रीमतीको नाममा योजनाबद्ध रूपमा ठूलो रकमको जीवन बिमा गरेका थिए । त्यही रकम हात पार्न भाडाका मान्छे प्रयोग गरी श्रीमतीको जीवन सिध्याए । रमेशले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ता र दमौली शाखा कार्यालय प्रमुखसँगको मिलेमतोमा क्षमताभन्दा बढी रकमको जीवन बिमा गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले लक्ष्मीलाई २० वर्ष अवधिका लागि एक करोड रुपैयाँको वार्षिक अग्रिम भुक्तानी जीवन बिमा गर्ने प्रयोजनका लागि अभिकर्ता अविनाश श्रेष्ठमार्फत २०७५ फागुन २३ मा प्रस्ताव फारम भराए । कम्पनीको दमौली शाखामा कागजात पेस गरेपश्चात् फागुन २९ मा बिमा लेख जारी भयो । वार्षिक बिमा शुल्क (प्रिमियम) ७ लाख २० हजार २ सय ४० रुपैयाँ त्यही दिन बुझाए ।
बिमा गर्दा बीमितले बिमा शुल्क बुझाउन सक्ने आम्दानीको स्रोत सन्तोषजनक छ/छैन भनेर हेर्नुपर्छ । बिमांकको आधारमा नियमित तिर्नुपर्ने बिमा शुल्क तिर्न सक्ने अवस्था देखिएमा मात्र बिमा लेख जारी गर्नुपर्छ । कम्पनीले भने वास्तविक अवस्था जाँचबुझ नगरी कागजी प्रमाणलाई मात्रै योग्यताको आधार मानेको छ ।
बीमित लक्ष्मी नेपालीले कम्पनीमा बिमा गर्ने क्रममा सहारा कृषि सहकारी संस्था लिमिटेड (व्यास ४, दमौली) मा प्रबन्धक पदमा कार्यरत रहेको र मासिक ४० हजार रुपैयाँ तलब भत्ता पाउने गरेको कागजात पेस गरेकी छन्, जबकि पोखरा बस्ने उनले त्यस्तो जागिर नै खाएकी थिइनन् । बिमा कम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठकै सल्लाहमा सहकारीको लेटरप्याड दुरुपयोग गरी रमेशले उक्त कागजात तयार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
रमेशले पोखरा रामबजारको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको डिपोजिट स्टेटमेन्ट र सिभिल बचत तथा ऋण सहकारी संस्थामा खोलेको खाताको स्टेटमेन्टसमेत पेस गरेका छन् । रमेशले रामबजारमा रहेको ‘प्रकाश मोबाइल मर्मत सेन्टर’ बाट मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानी हुने कागजात बुझाएका छन् । सानो मोबाइल पसलबाट त्यतिधेरै आम्दानी हुनै नसक्ने प्रहरी बताउँछ । बिमा कम्पनीले तिनै कागजातका आधारमा बिमा शुल्क भुक्तानी गर्न योग्य मान्दै लक्ष्मीको बिमा लेख नम्बर ४०१००००५६९ उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बिमा समितिलाई पत्र लेखी युनियन लाइफका अभिकर्ता र दमौली शाखा प्रमुखलाई नियमानुसार कारबाही गर्न सिफारिस गरेको छ । भदौमा बिमा समितिलाई पत्र लेख्दै अभिकर्ता लमजुङ सोतीपसलका अविनाश श्रेष्ठ र युनियन लाइफका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले बीमितको आयस्रोत धेरै देखाउने उद्देश्यले नक्कली कागजात तयार गरी कम्पनीमा पेस गरेको अनुसन्धानबाट देखिन आएको बताएको छ ।


ॅछोराछोरीले पाउनुपर्छ बिमा रकम’
लक्ष्मीका ७ वर्षीय छोरा राजीव छुट्टीमा आर्मी पोसाकमा देखिन्छन् । ‘यसकी आमाले छोरालाई आर्मी, छोरीलाई नर्स बनाउँछु भन्थी,’ ९ वर्षीया रोशनीतिर फर्कंदै हजुरआमा जुनामायाले भनिन्, ‘मान्छे मरे पनि बुहारीको आत्मा मरेको छैन । छोराछोरीको वरिपरि हिँडेकी होली ।’
पोखरा वन क्याम्पस कान्तिपुर चोकको तीनतले घरमा ५० वर्षीया जुनामाया आफूलाई एक्लो पाउँछिन् । केही महिनाअघिसम्म खुसीसाथ बसेको परिवारमा अकस्मात् नसोचेको वज्रपात पर्‍यो । हेटौंडाबाट चितवन हुँदै पाँच वर्षअघि पोखरा बसाइँ सरेर आएको थियो उनको परिवार । कान्छो छोरा प्रकाशले पोखरामै मोबाइल पसल चलाएर एकतले घर बनाएका थिए । उनैले दाजुभाउजू र भतिजाभतिजीलाई पोखरा बोलाए । रामबजारमा रहेको मोबाइल पसल माइलो दाइ रमेशलाई जिम्मा लगाएर जापान हान्निए । जापानमा ऋणधन गरेर घरको तला थपे । ‘माइलोले मति बिगारेपछि घरै भताभुंग भयो,’ जुनामायाले दुखेसो पोखिन्, ‘कान्छो जापानबाट फर्किन खोजेको छ, यही घर बनाउँदा लिएको ऋण नतिरी फर्किन सकेको छैन ।’
रोशनी र राजीवलाई भने जेठो छोरा भरतले काठमाडौं लगेर राखेका छन् । हजुरआमाको मन मानेको छैन । ३ कक्षा पढ्ने रोशनी विद्यालयमा कसैले नदेख्ने गरेर रुन्छिन् । हजुरआमाले दसैंमा दिएको सय रुपैयाँ उनले खुत्रुकेमा अटाइनअटाई हालिन् । हजुरआमाले सोध्दा भनिन्, ‘यसमा जम्मा गरेको पैसाले बाबालाई निकाल्न पुग्ला नि है ।’ घरको माथिल्लो तलाको कोठामा लक्ष्मीको तस्बिर छ । त्यही फोटो हेरेर १ कक्षामा पढ्ने राजीवले हजुरआमालाई भन्छन्, ‘ममी कहाँ हुनुहुन्छ
होला ? यति उज्यालो फोटो छ ।’ नातिनातिनीको अवस्था देखेर जुनामाया र तोकबहादुरको मन छियाछिया हुन्छ । ‘अर्की मन परेको भए लिएर गएको भए हुन्थ्यो,’ जुनामायाले भनिन्, ‘मेरी बुहारीको ज्यान त बच्थ्यो । त्यो (रमेश) त मेरी बुहारीको खुट्टामा पनि सुहाउने थिएन ।’ बुहारीको मृत्यु र छोरा जेलमा भए पनि आम्दानीको बाटो बन्द छ । अचेल ६३ वर्षीय तोकबहादुर ज्यामी काम गर्छन् । बिहान/बेलुकाको छाक टार्छन् ।
रमेश नेपाली हाल संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । प्रहरीले बिमाबापतको रकम छोराछोरीलाई दिलाउन पहल गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्की बिमा रकमको प्रिमियम तिरिसकेको अवस्थामा मृत्यु भएकाले बिमा बापतको रकम कम्पनीले उपलब्ध गराउनुपर्ने बताउँछन् । ‘श्रीमतीको मृत्यु भएको र श्रीमान् जेलमा गएको अवस्थामा त्यो रकमको लाभार्थी बच्चाहरू नै हुन्छन्,’ उनले भने ।

समाचार

कुपोषणविरुद्ध राष्ट्रिय अभियान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको कुपोषण र गरिबीविरुद्धको राष्ट्रिय अभियानको सुरुवात गरेकी छन् । शुक्रबार राष्ट्रपति निवासबाट अभियानको सुरुवात गरिएको हो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले कुपोषणविरुद्ध सरकारको लक्ष्य हासिल गर्न प्रदेश सरकार र स्थानीय तहलाई सहयोग गर्न आग्रह गरिन् ।
संविधानले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य र पोषणको अधिकार दिएको स्मरण गर्दै उनले बालबालिकाको सर्वांगीण विकासका लागि शिशु पोषित हुन आवश्यक रहेको बताइन् । अभियानलाई अघि बढाउन गैरनाफामूलक बलियो नेपाल नामक संस्था स्थापना गरिएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले अध्यक्ष रहेको बोर्डमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरी, क्रिकेटर पारस खड्का, नबिल बैंकका सीईओ अनिल शाह र पोषणविद् उमा कोइराला आबद्ध छन् । ६ देखि २३ महिनासम्मका बालबालिकामा देखिने कुपोषणको जोखिम न्यून गर्नमा अभियान लक्षित रहेको वाग्लेले बताए । निजी क्षेत्रसँगको सहकार्यमा कुपोषित बालबालिकाको पहुँचमा पोषणयुक्त लिटो र अण्डा पुर्‍याउने गरी कार्यक्रम तय भएको उनले जानकारी दिए ।
‘हाम्रो विशेष ध्यान बालबालिकाका अतिरिक्त किशोरीहरू, प्रजनन उमेरका महिलाहरू, गर्भवती तथा सुत्केरीहरूमा रहनेछ,’ उनले भने, ‘जसबाट आगामी पुस्ता वर्तमान पुस्ताभन्दा अझ बलियो र स्वस्थ भएर राष्ट्र निर्माणमा सक्रिय हुन सकोस् ।’
चौधरी ग्रुप एवं चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीको विशेष पहलमा यो अभियान नेपालमा कार्यान्वयनमा आएको हो । उनले बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनसँग चौधरी ग्रुपले सहकार्य गर्ने गरी यो कार्यक्रमलाई नेपालमा कार्यान्वयन गर्न पहल गरेका थिए । ‘बालबालिका देशका भविष्य हुन्, उनीहरूलाई भौतिक एवं मानसिक रूपमा बलियो बन्ने वातावरण बनाउनु सबैको जिम्मेवारी हो,’ अध्यक्ष चौधरीले भने, ‘बालबालिका कुपोषणको सिकार भइरहेका छन्, यसबाट मुक्त गराउन एउटा बृहत् अभियानको खाँचो छ ।’
अभियानमा निजी क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गरी कुपोषणविरुद्ध उपलब्धि हासिल गरेरै छाड्ने उनको प्रतिबद्धता छ । अभियान पहिलो चरणमा प्रदेश ५ बाट लागू गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले अभियानमा प्रदेश छानिएकामा खुसी लागेको प्रतिक्रिया जनाए । अभियानको सफल कार्यान्वयनका लागि प्रदेश सरकारले पूर्णरूपमा सहयोग गर्ने उनको प्रतिबद्धता छ । कुपोषणविरुद्धको अभियानमा निजी क्षेत्रको संलग्नताले भविष्यमा अपेक्षित नतिजा प्राप्त हुने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले विश्वास व्यक्त गरे ।

Page 14
समाचार

उत्तरी सीमाका 'कुङ्ला'

जसको पहलमा ताप्लेजुङमा सडक निर्माणका लागि चीन सरकारले ९६ करोड रूपैयाा छुट्याएको छ
- आनन्द गौतम
चीनको डिङ्जे काउन्टीका प्रमुख कुङ्ला । तस्बिर ः आनन्द/कान्तिपुर

(ताप्लेजुङ) - चीनको सिचुवान प्रान्तको डिङ्जे काउन्टीका प्रमुख हुन् कुङ्ला । उमेरले ५६ वर्षका छन् । बितेको वर्ष उनी नेपालतर्फको सीमावर्ती ओलाङचुङगोला आएका थिए । छिमेकी देशको छिमेकी गाउँसम्म पहिलोपटक आएका उनी एक रात बसे । नेपालीको स्वागत सत्कारमा रमाएर भोलिपल्ट फर्किए । फिर्दाको अनुभव मीठो रहेन ।
मौसम र सडकले साथ दिएन । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाको मौवाटार नपुग्दै ठाडे खोलामा आएको बाढीले सडक बगायो र कुङ्ला सवार गाडी पार हुन पाएन । उनले बाटोमा बस्नुभन्दा नेपाली बस्तीमै फर्कने इच्छा गरे । गाडी फर्काए । ओलाङचुङगोला आए । वर्षा नरोकिएका कारण कति समय बस्ने टुंगो भएन । गाउँलेले टेन्ट टाँगेर उनका लागि बस्ने ठाउँको व्यवस्था मिलाए । तीन दिनमा वर्षा रोकिएपछि नेपाली र चिनियाँ भएर बिग्रिएको सडक बनाए अनि गाडी तारेर कुङ्ला स्वदेश फर्किए । उनका लागि थुनिएर बस्नुपर्दा सायदै पीडा भयो होला । तर सीमावर्ती छिमेकीका लागि भने लाभ । कुङ्लाले त्यही बेला भनेका थिए यो सडक अब चीनले बनाउँछ । ताप्लेजुङसँग जोडिएको चीनको सीमावर्ती टिप्ताला भन्ज्याङदेखि ओलाङचुङगोलाको बस्तीसम्मका लागि उनकै पहलमा ६ करोड युआन (नेपाली ९६ करोड रुपैयाँ) बजेट छुट्टिएको छ । उनका अनुसार उक्त योजनाको बजेट कार्यान्वयनको
प्रक्रियामा छ ।
यो उनले ताप्लेजुङका जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, नेपालको सीमावर्ती फक्ताङलुङ गाउँपालिका प्रमुख सरोज एभेङ, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेलगायत टोलीसँगको औपचारिक बैठकमा सुनाएका हुन् । नेपाल सरकारले दिएको काम गर्ने अनुमतिका आधारमा बजेट छुट्ट्याइएको हो । २४ किमिको यो सडक स्तरोन्नति गर्ने जिम्मा आफूहरूको भएको उनले
सुनाएका छन् ।
तर कुङ्ला यतिमा मात्रै सीमित छैनन् । उनका अनुसार नेपालले चीनसँग विकास साझेदारी गर्न सन्तोषजनक ढंगले काम भए राष्ट्रपति सी चिनफिङसमक्ष पुग्नुपर्दैन । सीमावर्ती जिल्लाका लागि कुङ्ला नै काफी छन् । ताप्लेजुङका समकक्षी मादेनसँगको छलफलमा उनले भने, ‘आगामी जुलाई (असार) महिनासम्ममा ताप्लेजुङ सदरमुकामसम्मको सडकको ट्र्याक खुले त्यसको स्तरोन्नतिका लागि पनि हामी तयार छौं ।’ यसका लागि नेपालले अनुमतिपत्र अनिवार्य दिनुपर्ने उनले प्रस्ट्याए । फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङका अनुसार परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावासमा पत्राचार गरेपछि उक्त पत्र ल्हासामा पुग्छ र त्यहाँबाट काउन्टीमा आएपछि प्रक्रिया सुरु हुनेछ । त्यहाँको नियमानुसार सीमावर्ती क्षेत्रका लागि ३ करोड युआन (४८ करोड) सहयोगसम्मको निर्णय काउन्टी प्रमुख कुङ्ला स्वयंले गर्न सक्नेछन् ।
त्योभन्दा बढीका लागि माथिल्लो निकायमा पुग्नुपर्छ । जिल्लाले दिनेभन्दा बढी लाग्ने रकम प्रान्तमा गएर पनि छुट्याउन लगाउने तर सीमावर्ती क्षेत्रका बासिन्दाले काममा गति दिनुपर्ने प्रस्ताव उनले गर्ने गरेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता समेत रहेका ओलाङचुङगोलाका दोभासे छेतेन वालुङ बताउँछन् । कुङ्लाले ताप्लेजुङ र संखुवासभा जिल्लालाई त्यसको लाभ लिन पटकपटक आग्रह गरेका छन् ।
असोज २९ मा डिङ्जे काउन्टीको घुम्तीमा बनाएको व्यापारिक केन्द्रको उद्घाटन थियो । सिमाना नजिकैको उक्त केन्द्रको उद्घाटनअघि छिमेकी ताप्लेजुङ र संखुवासभाका व्यापारीलाई बोलाइएको थियो । व्यापारका लागि उद्घाटनको एक साताअघि नै पुगेका ओलाङचुङगोलाका टासी शेर्पाका अनुसार काउन्टी प्रमुख कुङ्ला त्यहाँ दिनभरि काम गर्थे । निर्माणाधीन बजारमा ढुंगा बोक्ने, माटो मिलाउने काम उनी आफैं गर्थे । ‘प्रमुखको पोसाक लगाएर बसेको मैले आजमात्रै देखें,’ उद्घाटनको दिन टासीले भने, ‘हाम्रो देशमा यसरी काम गर्नु अपमान सम्झन्छन्, तर यहाँ त प्रमुख स्वयं खाली हात बसेको देख्नै नपाइँदो रहेछ ।’ उद्घाटनको दिन कुङ्लाले मात्रै मतव्य राखे । मन्तव्य पनि ८ मिनेटको लिखित थियो । अघिपछि मञ्चमा बसिरहे । सांस्कृतिक कार्यक्रम अवलोकन गरे । मोबाइल उनको खल्तीमा थियो । तर न सेल्फी खिचे, न त अरूलाई आफ्नो फोटो खिच्न लगाए । नेपाली समकक्षीसँग भने काममा विश्वास गर्न र जनताका लागि काम गर्न सुझाए ।
ताप्लेजुङ जिल्ला जस्तै डिङ्जे काउन्टीमा पनि १० वटा स्थानीय तह छन् । छेतेनका अनुसार पछिल्ला वर्ष सिमानामा रहेको नेपालतर्फको विकासमा पनि उनीहरूले सहयोगको हात बढाएका हुन् । ताप्लेजुङको टिप्ताला भन्ज्याङदेखि ओलाङचुङगोलासम्मको ट्र्याक खोल्ने काम चिनियाँ ठेकेदारले गरे । लगानी भने ओलाङचुङगोलामा जन्मेर देश/विदेशमा रहेकाले गरे । अहिले पनि दैनिक ज्यालादारीमा ओलाङचुङगोलादेखि सदरमुकाम फुङलिङसम्मको १८ किमिमा सडक खन्ने काम चिनियाँले गरिरहेका छन् । यसको समन्वय कुङ्लाले नै गरिदिएका हुन् । अहिले फक्ताङलुङ गाउँपालिका ६ लेलेप र ७ ओलाङचुङगोला दुईतर्फबाट काम भइरहेको छ ।

Page 15
खेलकुद

अस्ट्रेलियाद्वारा क्लिनस्वीप

- एएफपी

(मेलबर्न) - अस्ट्रेलियाले श्रीलंकासँग तीन खेलको ट्वान्टी–२० क्रिकेट शृंखला क्लिनस्वीप गरेको छ । उच्च लयमा रहेका ओपनर ब्याट्सम्यान डेविड वार्नरले लगातार तेस्रो अर्धशतक प्रहार गरेपछि तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलियाले ७ विकेटको जित हासिल गरेको थियो ।
मेलवर्न रंगशालामा शृंखला क्लिनस्वीप गर्नुअघि अस्ट्रेलियाले एडिलेडमा भएको पहिलो खेल १ सय ३४ रनले जितेको थियो । ब्रिसबेनमा ९ विकेटको जित निकाल्ने क्रममा ७ ओभरमात्र खेल्यो । तेस्रो खेलमा श्रीलंकाको ब्याटिङ सुस्त थियो । तर कुशल परेराले इनिङ्सको अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै ५७ रनको अर्धशतक बनाएपछि श्रीलंकाले ६ विकेट गुमाई १ सय ४२ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो । लासिथ मालिङगाको नेतृत्वमा रहेको श्रीलंकाली बलिङपंक्तिले सानदार अस्ट्रेलियाली ब्याटिङक्रममा कुनै असर पार्न सकेन । बल टेम्परिङ प्रकरणमा एकवर्षे प्रतिबन्धपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला खेलेका वार्नरले तीन खेलमा २ सय १७ रन जोडे । सबैमा उनी अविजित रहे ।
‘हामी लक्ष्यमा निकै सानदार रह्यौं,’ अस्ट्रेलियाली कप्तान आरोन फिन्चले भने, ‘पछिल्लो २ खेलमा हाम्रा बलरले जसरी खेल नियन्त्रणमा लिए, त्यो वास्तवमै सानदार थियो । हरेक खेलमा फरक चुनौती र माहोल हुन्छ । महत्त्वपूर्ण कुरा तपाईले कसरी आफ्नो शतप्रतिशत दिनुहुन्छ भन्ने नै हो । चाहे तयारीमा होस् या मानसिक रूपमा ।’
मेलबर्न क्रिकेट मैदानमा ओपनर फिन्च र वार्नरको क्याच इनिङ्सको सुरुमै ड्रप भएको थियो । यी दुईले पहिलो विकेटमा ६९ रनको साझेदारी गरे । ३ छक्का प्रहार गरेका फिन्च ३७ रनको स्कोरमा लाहिरू कुमाराको बलमा सेहान जयसूर्याको हातबाट क्याचआउट भए ।
त्यसपछि क्रिजमा आएका स्टिभ स्मिथले ९ बलमात्र खेल्न सके । उनी १३ रनको स्कोरमा डिपक्षेत्रमा क्याचआउट भए । सुरुआती दुई खेलमा क्रमशः १०० र ६० अविजित इनिङ्स खेलेका वार्नर आफ्नो लयका लागि संघर्ष गरिरहेको क्रिजको माइक्रोफोनमार्फत सुनिएको थियो । तर उनले आफूलाई उही लयमा निरन्तरता दिन सके । ४४ बलमा अर्धशतक पूरा गरेका वार्नरले आउट नभई ५७ रन बनाएर टिमलाई जित दिलाए । उनलाई एस्टोन टर्नरले २२ रन बनाएर साथ दिए । अस्ट्रेलियाले १४ बलअगावै ३ विकेट क्षतिमा १ सय ४५ रन बनायो ।
अर्को वर्ष घरेलु मैदानमा आयोजना हुने ट्वान्टी–२० विश्वकपअघि अस्ट्रेलिया शीर्ष वरीयतामा आउन प्रयासरत हुनेछ । श्रीलंकाविरुद्धको यो क्लिनस्वीपले दक्षिण अफ्रिकालाई पछि पार्दै विश्व वरीयतामा तेस्रो स्थानमा उक्लने निश्चित भइसकेको छ । यो भन्दा ठूलो परीक्षण भने आइतबारदेखि सुरु हुनेछ । जहाँ उसले विश्व वरीयतामा शीर्षस्थानको पाकिस्तानविरुद्ध तीन ट्वान्टी–२० शृंखलामा पहिलो खेल खेल्दैछ ।
‘हामी स्तरअनुसार उत्रन सकेनौं । हामीले शतप्रतिशत खेल्न सक्दैनौं भने यस्तै नतिजाका लागि तयार हुनुपर्छ,’ श्रीलंकाका ओपनर निरोशान डिकवालाले भने, ‘हामीले यो शृंखलाबाट धेरै कुरा सिकेका छौं । तर हामीले राम्रो खेल्न सकेनौं ।’ फिन्चले टस जितेर श्रीलंकालाई ब्याटिङ गर्न निम्तो गरे । तर पाहुना टोलीले राम्रो सुरुआत गर्न सकेन । नियमित ओपनर दनुस्का गुणाथिलांकाको स्थानमा अवसर पाएका डिकवाला पहिलो बलमै आउट भए । कुशल मेन्डिस र परेराले केही आक्रामक बाउन्ड्री प्रहार गरे । केन रिचर्डसनको बलमा ठूलो शट खेल्ने चक्करमा मेन्डिस १३ रनको स्कोरमै डिप स्क्वायर क्षेत्रमा क्याचआउट भए ।
परेरा र अभिष्का फर्नान्डोले १० ओभरमा ६५–२ को स्थितिमा पुर्‍याए । यी दुईले ४३ रनको साझेदारी गरे । यो साझेदारी श्रीलंकाको शृंखलाकै ठूलो रह्यो । फर्नान्डो पनि २० रनको स्कोरमा प्याट कमिन्सको बलमा क्याचआउट भए । क्रिजमा आएका ओसादा फर्नान्डो पनि ६ रनको स्कोरमै आउट भए ।
तर परेराले आक्रामक शट खेल्दै श्रीलंकाको इनिङ्स उकास्न महत्त्वपूर्ण सहयोग गरे । उनले करिअरको छैटौं ट्वान्टी–२० अर्धशतक ३८ बलमा पूरा गरे । कमिन्सकै बलमा मिडअफमा एस्टोन टर्नरद्वारा क्याचआउट हुनुअघि उनले ५७ रनको योगदान गरे ।

खेलकुद

कबड्डी टोली वैदेशिक प्रशिक्षणमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण भारत महाराष्ट्रको कोलापुरमा हुने भएको छ । त्यसका लागि टोली शुक्रबार कोलापुर जानेछ । पुरुष खेलाडीमा जयबहादुर बोहरा, नागेश्वर थारु, विनोद तामाङ, प्रदीप मिजार, रन्जित गज्मेर, लालमोहर यादव, प्रवीण खड्का, कुमार लामा, पदमबहादुर विष्ट, बन्धु राना, कल्याण भुजेल, अमित कुावर, अजय मानन्धर, रामु टमाटा, रामप्रसाद महतो र कधैलाल थारु रहेका छन् । महिलामा कोषमाया बस्नेत, मेनुका राजवंशी, गंगा धामी, अनुजा कुलुङ राई, हरिना थापा, मानमति विष्ट, गंगा रकसकोटी, कमला थापा, सरिता भुजेल, सविना मल्ल, रविना चौधरी, जयन्ती बडु, सुनीता थापा, यशोदा गिरी, पुस्तिका चौधरी र सिर्जना थारु छन् । पाँच प्रशिक्षकमा कबड्डी मुख्य प्रशिक्षक तारासिंह भाट, लोकबहादुर विष्ट, मोतीराज पनेरु, विष्णुदत्त भट्ट र पार्वती राई छन् । दुई व्यवस्थापकमा कृष्णदेव पन्त र सुन्दर प्रजापति छन् ।
सागका लागि खेलाडीको अन्तिम छनोट भने हुन बाँकी छ । हाल प्रशिक्षणका लागि १६–१६ पुरुष/महिला खेलाडी भारत गएकोमा दुवैतर्फ समान १२–१२ खेलाडीको अन्तिम छनोट गरिने मुख्य प्रशिक्षक भाटले जनाएका छन् । भारतमा रहँदा टोलीले ५ अभ्यास खेल खेल्ने कार्यक्रम छ । प्रशिक्षण नोभेम्बर २ देखि २९ सम्म चल्नेछ ।

खेलकुद

लिभरपुललाई लिग कप पिरलो

- एएफपी

लन्डन – योर्गन क्लोपले इंग्लिस लिग कपको समाधन अझै गर्न नसकेको स्वीकारेका छन् । आर्सनलमाथि निर्धारित समयमा ५–५ को बराबरीपछि पेनाल्टी शुटआउटमा रोमाञ्चक जित हात पारेको लिभरपुलले लिग कपको क्वाटरफाइनलमा एस्टन भिल्लासँग खेल्नुपर्नेछ । जुन समयमा लिग कपको क्वाटरफाइनल खेल्नुपर्ने हो त्यो समयमा लिभरपुल क्लब विश्वकप खेल्ने कतार लागिसकेको हुनेछ ।
लिग कपको क्वाटरफाइनल तोकिएको समयअनुसार डिसेम्बर १६ को सप्ताहमा पर्नेछ, जबकि लिभरपुलले क्लब विश्वकपमा डिसेम्बर १८ मा पहिलो खेल खेल्नुपर्ने कार्यक्रम छ । आर्सनलसँग लिग कपको पछिल्लो खेलमा जित पाएपछि क्लोपले क्वाटरफाइनललाई उपयुक्त समय नआएमा लिभरपुलले प्रतियोगिता त्याग्न सक्ने चेतावनी दिएका थिए । कतारमा गएर खेल्नुपर्ने भएकाले लिभरपुलको वेस्ट ह्यामसँगको प्रिमियर लिग खेल यसअघि नै सारिएको छ ।
युरोपियन च्याम्पियन्स लिग विजेता लिभरपुलले यस सिजनमा कुल ७ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । कम्युनिटी सिल्डमा म्यानचेस्टर सिटीसँग पराजित भएको लिभरपुलले चेल्सीलाई पेनाल्टी शुटआउटमै पराजित गरी यूईएफए सुपर कप जितिसकेको छ । इंग्लिस प्रिमियर लिग, लिग कप र च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गरिरहेको लिभरपुलले एफए कप र क्लब विश्वकप पनि खेल्नुपर्नेछ ।
क्लोपले लिग कप र क्लब विश्वकपमा छुट्टाछुट्टै टिम उतारेर समस्या समाधन गर्न खोजिरहेका छन् । तर लिग कपको यो क्वाटरफाइनल जनवरीको सुरुआतमा सर्न पनि सक्छ । यस्तो भएमा लिग कपको एउटा सेमिफाइनलको पहिलो लेग जनवरी ६ मा भइरहेको अवस्थामा लिभरपुल र एस्टन भिल्ला क्वाटरफाइनलमै भिडिरहेका हुन सक्छन् । डिसेम्बरमा लिभरपुलसँग अर्को खेल खेल्न कुनै समय नै छैन । यो अवधिमा एनफिल्ड टोलीले ८ खेल खेल्नुपर्नेछ ।
‘हामीले विकल्पका धेरै विषयमा छलफल गरिसकेका छौं । निर्णय गर्नका लागि हामीसँग पर्याप्त समय छैन, त्यही पनि अन्तिम निर्णय अझै गर्न सकेका छैनौं,’ क्लोपले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘हामी कतार खेल्न गयौं भने दुई टिम उतार्नुपर्ने हुन्छ । तर लिग कप खेल्न लागि हामी खेलाडी छाडेर जान सक्दैनौं । निकै व्यस्त समयमा हामीले कतारसँग दुई खेल खेल्नुपर्नेछ । त्यस्तो अवस्थामा ११ खेलाडी लगेर कतारमा दुई खेल खेल्ने ११ खेलाडी यिनै हुन् र बाँकी ११ खेलाडी एस्टन भिल्लासँगको खेलका लागि छन् भनेर भन्न सक्दैनौं ।’
क्लोपले शीर्ष प्रिमियर लिग क्लबहरू व्यस्तसत्रमा रहने हुनाले लिग कपको संरचना नै परिवर्तन गर्नुपर्ने जनाएका छन् । लिग कपको सेमिफाइनलमा ‘होम र अवे’ गरेर दुई लेग खेल्नुपर्ने हुन्छ । त्यसमा क्लोपको आपत्ति छ । स्पेन, इटालीको फुटबल संरचनाको तुलनामा इंग्ल्यान्डको घरेलु फुटबलमा एक प्रतियोगिता बढिरहेको छ ।
विश्वका ठुला मानिएका स्पेन र इटालीमा मुख्य लिग र एक नकआउट प्रतियोगिता रहेकोमा इंग्ल्यान्डमा लिगबाहेक लिग कप र एफए कपजस्ता प्रतियोगिता पनि छ । यसले इंग्ल्यान्डको घरेलु फुटबललाई निकै व्यस्त बनाएको गुनासो आइरहेको छ । निरन्तर खेलले खेलाडीको स्वास्थ्य जोखिम बनाइरहेकामा क्लोप चिन्तित छन् । ‘एफएको लिग कपसँग र फुटबल लिगको एफए कपसँग सामीप्यता छ, तर कोही पनि यस विषयमा छलफल गर्न चाहँदैनन्,’ क्लोपले भने ।

खेलकुद

बकुलहर उपाधि नजिक

- कान्तिपुर संवाददाता

सिमरा (कास)– सहिद स्मृति ट्वान्टी–२० लिग क्रिकेटमा शुक्रबार पहिलो सेमिफाइनलमा बकुलहर क्रिकेट क्लब विजयी भएको छ । बाराको उत्तरझिटकैयास्थित रंगशालामा भइरहेको प्रतियोगितामा बकुलहरले ढोडिया क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको ढोडिया १६ ओभरमा ७० रन बनाउँदै अलआउट भयो । टोलीका शिव पटेलले ३ छक्कासहित २२ र विकास पटेलले ६ रन जोडेका थिए । बकुलहरका अनिल चौधरीले ह्याट्रिक विकेट लिए ।
सलमान खान र अमजत अन्सारीले समान २ विकेट लिए । बकुलहरले ६ विकेट गुमाई १३.१ ओभरमा ७१ रनको लक्ष्य पूरा गर्‍यो । अरुण कुशवाहाले २२ र सलमान खानले १२ रन जोडे । ढोडियाका सुभाष साहले ३, श्रवण पटेलले २ र विकास पटेलले १ विकेट लिए ।

खेलकुद

मेयर कप फुटबल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– युथ हसनटार क्लबको आयोजनामा प्रथम मेयर कप फुटबल शनिबार सुरु हुँदै छ । प्रतियोगितामा १९ टिमको सहभागिता रहने आयोजक क्लबले जनाएको छ ।
विजेताले १ लाख ५ हजार र उपविजेताले ५५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार प्रदान गरिनेछ । कात्तिक ३० सम्म नकआउटका आधारमा चल्ने प्रतियोगिताका खेल हसनटार फुटबल मैदानमा हुनेछ ।

खेलकुद

खेलाडीद्वय दोहातर्फ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कतारको राजधानी दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा हुने आईटीएफ एसियन यू–१४ क्लोज च्याम्पियनसिपमा चिराग तिमिल्सिना र सर्वाङ्नी श्रेष्ठ भाग लिने भएका छन् । प्रेमकृष्ण श्रेष्ठको नेतृत्वमा उनीहरू शुक्रबार त्यसतर्फ गएका छन् । एसियाका विभिन्न ४२ मुलुकको सहभागिता रहने प्रतियोगिता नोभेम्बर ३ देखि १० सम्म हुनेछ ।

Page 16
खेलकुद

अलपत्र टुँडिखेल

दैनिक अभ्यासमा आउने सबै खेलाडीको एउटै गुनासो छ, ॅप्रशिक्षण गर्न एकदमै गाह्रो छ’
- माधव अर्याल
तानसेनको एक मात्र खेलमैदानको रूपमा रहेको टुँडिखेल । तस्बिर ः माधव/कान्तिपुर

(पाल्पा) - तानसेनको एकमात्र खेल मैदान टुँडिखेल स्तरोन्नतिको अभावमा अलपत्र छ । यहाँका फुटबल खेलाडीले अभ्यास गर्न पाएका छैनन् । दुई वर्षदेखि स्तरोनन्ति गर्ने भन्दै टुँडिखेलमा डोजर लगाएर अलपत्र छाडिएको छ । खेलमैदान स्तरोन्नति गर्ने योजना तानसेन नगरपालिकाले अघि सारेको थियो । कामै अघि नबढाई त्यत्तिकै छाडेको हो । खेलाडीहरू धूलो र हिलोमा फुटबल अभ्यास गर्छन् । ‘हामीले पछिल्लो समयमा अभ्यास गर्न पनि पाएका छैनौं,’ दैनिक अभ्यासमा जुट्ने खेलाडी विकास ठाडाराईले भने, ‘टुँडिखेलमा अभ्यास गर्न साह्रै अप्ठेरो हुन्छ ।’
उनीमात्र होइनन्, दैनिक अभ्यासमा आउने सबै खेलाडीको एउटै गुनासो छ । नगरपालिकाले अलपत्र पारेर छाडेपछि खेलाडीसमेत निराश छन् । उनीहरू हिलो, धूलो, खाल्डाखुल्डी भएको मैदानमा अभ्यास गर्न बाध्य छन् । जुनियर, सिनियर सबै खेलाडीको गुनासो एउटै छ । खेलमैदान सुधार्न नसकेकामा उनीहरूको चिन्ता बढेको छ । ‘जहिले सुधार्ने भन्ने योजना हुन्छ,’ अर्का खेलाडी आयुश अधिकारीले भने, ‘तर कहिल्यै काम अघि बढ्दैन ।’
तानसेनमा एकमात्र खेलमैदान छ । दैनिक कम्तीमा ३० जनाभन्दा बढी जुनियर र त्यति नै संख्यामा सिनियर खेलाडीले अभ्यास गर्छन् । खेल मैदानको अवस्था देखेर प्रशिक्षकहरू पनि हैरान छन् । उनीहरूले पाल्पा जिल्ला फुटबल संघ, तानसेन नगरपालिकालाई पटक–पटक मैदानको विषयमा गुनासो राखे पनि सुनुवाइ भएको छैन ।
यस वर्ष प्रदेश सरकारको बजेटबाट मैदान स्तरोन्नति गर्ने नगरपालिकाको योजना थियो । मैदानको छेउमा होर्डिङ बोर्ड पनि टाँसियो । तर, काम नै नगरी आर्थिक वर्ष सकियो । बजेट खर्च हुन सकेन । देखिने गरी कामै भएन । नाली निर्माण गरेर पानी तीनधारा साइडमा फाल्ने काम भएको छ । अघिल्लो आर्थिक वर्षमा विनियोजित बजेटबाट काम हुन नसक्दा धेरै काम अलपत्र छ । नगरपालिकाको काखैमा भएको खेलमैदान उपभोक्ता समितिमार्फत काम गराइयो । तर काम भने हुन सकेन ।
प्रशिक्षक गौरवमान शाक्यका अनुसार खेलाडीलाई सधैंको हैरानी हुन्छ । ‘नेपाली सेनाले राम्रो बनाएको खेलमैदान बिगार्ने काम भयो,’ उनले भने, ‘अहिले अलपत्र छाड्दा पुनः पुरानै अवस्थामा फर्किएको छ ।’ खाल्डाखुल्डी, हिलो, धूलो भएपछि खेलाडीलाई अभ्यास गराउन सकिने अवस्था नभएको उनले बताए ।
अर्का प्रशिक्षक रितशमान मल्लले योजनाअनुसार काम नगर्दा नै खेलमैदानमा सकस बेहोर्नुपरेको बताए । स्थानीय तहको निर्वाचनपछि खेलाडीले पनि मैदान स्तरोन्नति हुने अपेक्षा गरेका थिए । ‘सबै खेलाडीले अब मैदान स्तरोन्नति हुने भयो भन्ने आस राखेका थिए,’ प्रशिक्षक मल्लले भने, ‘तर सोचेअनुसार काम हुन सकेन ।’ आिर्थक वर्षको अन्त्यमा काम सुरु भए पनि पुनः रोकियो ।
उपभोक्ता समितिका अध्यक्ष प्रकाशनाथ गंगोलले नगरपालिकाको समन्वयमा नै काम भइरहेको दाबी गरे ।

योजना नै अघि बढेन
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले टुँडिखेलको बृहत्तर गुरुयोजना बनाइसकेको प्रतिक्रिया दिए । तर कार्यालयमा यसको गुरुयोजना माग्दा कोही कसैले दिन सकेनन् । जसअनुसार कामसमेत अघि बढेको छैन । ‘गुरुयोजनाअनुसार नै स्तरोन्नतिको काम अगाडि बढ्नेछ,’ प्रमुख शाहीको जवाफ छ । टुँडिखेललाई खेलमैदानकै रूपमा विकास गर्ने नगरपालिकाको योजना भएको उनले बताए । पहिलो काम अन्तर्राष्ट्रियस्तरको फुटबल खेल्न मिल्ने मैदान बनाउने रहेको उनले सुनाए । यसअघि दूबो रोपेर सफल नभएकाले नगरपालिकाले फुटबलका लागि आर्टिफिसियल दुबो ल्याउने योजना बनाएको थियो । महँगो पर्ने भएकाले उक्त योजना तुहियो । यतिमात्र होइन, सम्याउन समेत सकेको छैन । यसअघि सेनाले पटक–पटक दूबो रोपेर स्तरीय फुटबल मैदान बनाएको थियो ।
अहिलेको पैदल हिंड्ने ट्र्याकलाई समेत छेउमा लैजाने योजनाअनुसार सय मिटर काम भएको छ । त्यसबाहेक कुनै पनि काम अघि बढेको छैन । प्रमुख शाहीले अघिल्लो आर्थिक वर्षमै बनाउने भनेको गेटबाट भित्र पस्दा दायाँ भागको तीनकुनेमा ज्येष्ठ नागरिक कर्नर बनाइने योजना अघि बढेको छैन । टुँडिखेलका छेउछाउमा खाल्डो रहेकालाई मिलाउने योजनाअनुसार काम गरेनन् । खाल्डोको तल माथिकालाई मिलाएर बार लगाएर बस्ने कर्नर बनाउने शाहीको योजना थियो । विभिन्न स्थानमा टहलिएर बस्ने सेड निर्माणको योजना पनि थियो ।
तानसेन नगरपालिकामा सोलार प्यानल राख्ने र टुँडिखेलमा झिलिमिली बनाउने योजनाअनुसार कुनै थालिएको छैन । ‘अहिलेको कामलाई व्यवस्थित गर्दै अघि बढ्ने योजना नगरपालिकाको छ,’ प्रमुख शाहीले भने । नगरपालिकाले ४५ लाख र प्रदेश सरकारको २५ लाख बजेट टुँडिखेलका लागि अघिल्लो वर्ष नै छुट्याइएको थियो । त्यसमा थप १० लाखसम्म थप्न सकिने शाहीले बताए पनि अहिलेसम्म कामै हुन सकेन । पाँच वर्षअघि पनि टुँडिखेलको स्तरोन्नति साथै घेराबारका लागि छुट्टिएको बजेटका विषयमा अहिलेसम्म गुनासो रहँदै आएको छ । उक्त बजेटका विषयमा कोही कसैले खोजीसमेत नगर्दा अहिलेसम्म घेराबारसमेत हुन नसकेको स्थानीयको गुनासो छ ।

खेलकुद

पेसापालोकी ‘कान्छी अम्पायर’

- पर्वत पोर्तेल

(काँकडभिट्टा) - पेसापालो भन्ने खेलको नाम कमैले सुनेको हुनुपर्छ । यो फिनल्यान्डको राष्ट्रिय खेल हो । करिब ५० वर्षदेखि खेल्न थालिए पनि एसिया र नेपालमा यो खेल नौलो मानिन्छ । बबिता गुरुङ त्यही नौलो र अनौठो खेलकी अम्पायर हुन् । त्यो पनि नेपालको मात्रै कहाँ हो र । एसियाकै एक्ली महिला अम्पायर । बबिता १६ वर्षकी भइन् । झापा धुलाबारीस्थित इस्ट होराइजन स्कुलको कक्षा १० मा पढ्छिन् । पढाइमा त अब्बल नै छिन्, खेलकुद क्षेत्रमा पनि उस्तै । पढाइ र खेललाई मज्जाले समय मिलाइरहेकी छन् ।
पढाइसँगै उनी पेसापालो खेलको अम्पायरिङ गर्छिन् । देश तथा विदेशमा हुने प्रतियोगितामा बाक्लै सहभागी बन्छिन् । गत जेठमा बंगलादेशमा सम्पन्न पेसापालोको एसियाली प्रतियोगितामा उनले अम्पायरिङ गर्ने मौका पाएकी थिइन् । ‘त्यो मेरो पहिलो अन्तर्राष्ट्रिय अनुभव थियो,’ उनले सुनाइन् ।
कक्षा ८ मा पढ्दै गर्दा उनलाई पेसापालो खेल्ने मौका जुर्‍यो । त्यो पनि राष्ट्रिय टोलीबाट । १–२ म्याच खेलेपछि उनलाई अर्को अवसर मिल्यो, अम्पायर प्रशिक्षणको । अम्पायर प्रशिक्षण लिएर हालै उनले लाइसेन्स पनि पाएकी छन् । ‘पेसापालो खेलकी एसियाकै एक्ली महिला अम्पायर हुन् उनी,’ पेसापालोका प्रशिक्षक अर्जुन लम्सालले भने, ‘सानै उमेरमा उनले ठूलो जिम्मेवारी पाएकी छन् ।’
भारत अरुणाञ्चलको रोइङमा जन्मिएकी बबिताको परिवार एक दशकदेखि मेचीनगर ७ मा बसोबास गर्छ । उनले सानैमा आमा गुमाउनुपर्‍यो । उनको पालनपोषण हजुरआमाले गरिन् । बुवा वैदेशिक रोजगारीमा छन् । ‘घरपरिवार र स्कुलका शिक्षकको सहयोगका कारण मैले यत्रो ठूलो जिम्मेवारी बहन गर्न सकेकी हुँ,’ बबिताले सुनाइन्, ‘उहाँहरूको साथ र सहयोगले खेल क्षेत्रमा अघि बढ्न सहयोग मिलेको छ ।’
मंसिर १० देखि १४ सम्म भारतको पुनेमा पेसापालोको १० औं विश्वकम प्रतियोगिता आयोजना हुँदै छ । विश्वकपमा सहभागी बन्ने खेलाडी झापामै बन्द प्रशिक्षणमा व्यस्त छन् । उनले विश्वकपमा पनि अम्पायरिङ गर्ने बताइन् ।
नेपाल पेसापालो एसोसिएसनका अध्यक्ष पारसमणि दाहालले बबिता पेसापालोको अम्पायरिङमा अब्बल रहेको बताए । ‘यो उमेरमा उनको खेलप्रतिको लगाव र मिहिनेत प्रेरक छ,’ दाहालले भने । बबिताले यही खेलमा आफ्नो भविष्य देखेकी छन् । एसियाकै उत्कृष्ट अम्पायरको रूपमा काम गर्ने उनको इच्छा छ । ‘यो खेलमा महिला ज्यादै कम छन्,’ उनले थपिन्, ‘निकट भविष्यमा थप महिला खेलाडी र अम्पायर जन्माउने छु ।’
अढाइ वर्षअघि मात्रै नेपाल भित्रिए पनि यो खेलमा नेपालको भविष्य रहेको फिनल्यान्डवाट आएका प्रशिक्षक मिकोले जनाए । मिकोले थपे, ‘यो खेलबाट चाँडै नेपालको अन्तर्राष्ट्रिय पहिचान बन्नेमा म विश्वस्त छु ।’

खेलकुद

हाम्रो पूर्वाञ्चल गोल्डकप आजदेखि

- अर्जुन राजवंशी

(बिर्तामोड) - झापामा यो सिजनको पहिलो प्रतियोगिता अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल शनिबार सुरु हुँदै छ ।
बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा हुने गोल्डकपको उद्घाटन खेलमा शनिबार आयोजक जायोन स्पोर्ट्स क्लब र सिक्किमको आक्रामक एफसीबीच प्रतिस्पर्धा हुनेछ । कात्तिक २५ सम्म चल्ने गोल्डकपमा दुई भारतीयसहित १० टिम भाग लिने आयोजक क्लबका अध्यक्ष भक्त खवासले बताए ।
आयोजकसहित झापा ११, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, संकटा, चर्च ब्वाइज काठमाडौं र गोर्खा ब्वाइज रूपन्देही तथा सिक्किमको आक्रामक र आसामको मोलवे फुटबल क्लब प्रतिस्पर्धी हुनेछन् ।
विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । हरेक दिन म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले टीभीएस मोटरसाइकल तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही १५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकका प्रवक्ता एवं खेल संयोजक अभिनव राईले बताए ।
गोल्डकपका लागि रंगशालामा करिब ८ हजार दर्शक बस्न मिल्ने बाँसको प्यारापिट बनाइएको छ । हाम्रो पूर्वाञ्चल गोल्डकप असोज ११ देखि १८ सम्म गर्ने मिति तय गरिएको थियो । तर, पूर्वनिर्धारित समयमा लगातार वर्षा भएकाले सारिएको जनाइएको छ ।
गोल्कडपबाट अन्तिम समयमा थ्रीस्टार क्लबले आफ्नो नाम फिर्ता लिएको क्लबले जनाएको छ । आन्तरिक कारण देखाएर अन्तिम समयमा सहभागी नहुने जनाएपछि आयोजकले चर्च ब्वाइजलाई सहभागी गराएको हो ।

Page 17
कोसेली

पूर्ण कप्तान

पारस खड्काको नेतृत्वमा फड्को मारेको नेपाली क्रिकेट टिमको नेतृत्व अहिले उनकै उपकप्तान ज्ञानेन्द्र मल्लको हातमा आइपुगेको छ । पारसका हरेक सफलताका साक्षी र साझेदार ज्ञानेन्द्र लामो प्रतीक्षापछि पूर्ण कप्तान भएका छन्, टिमलाई अझै सफल बनाउने अभिभारा बोकेर ।
- विनोद पाण्डे

कीर्तिपुरमा २००५ मा मलेसियासँगको तीन दिवसीय खेलका लागि ज्ञानेन्द्र र अभय राणालाई नेपाली टोलीमा राखिएको थियो । दुवैले पहिलोपटक राष्ट्रिय टोलीको अनुभव बटुल्दै थिए । प्लेयिङ ११ मा दुवैको नाम थिएन । मलेसियासँगको खेल नेपालले दुई दिनभन्दा कम समयमै जित्यो । ‘अफिसियल डिनर’ मा नेपाली टोलीका सबै खेलाडी ‘अफिसियल ब्लेजर’ मा थिए । ज्ञानेन्द्र र अभय ‘ट्राभल टिसर्ट’ मा थिए । उनीहरूलाई क्यानले ब्लेजर दिइसकेको थिएन । चिसोमा ज्ञानेन्द्र र अभयले आफू टिममा परेपछि नेपालले हात पारेको पहिलो विजय मनाएका थिए ।
एकदिवसीय क्रिकेट ‘कलरफुल’ भएपछि कप्तानले टस गर्न जाँदा ब्लेजर लगाएर जाने चलन हराउन पुग्यो । अन्यथा ज्ञानेन्द्रले पनि पहिलो पूर्ण कप्तान भएपछि ब्लेजर लगाउँदै विपक्षी टोलीका कप्तानसँग सेन्टर पिचमा टसका लागि जाने थिए । त्यसले निश्चय पनि ज्ञानेन्द्रलाई त्यो जाडोमा कठ्यांग्रिंदै मलेसियासँग पाएको विजयमा ब्लेजरबिनाको अफिसियल डिनरलाई सम्झाउने थियो ।

करिब एक वर्षअघि एउटा संस्थाले नेपाली क्रिकेट टोलीका कप्तानहरूलाई एउटा थलोमा सम्मान गरेको । ज्ञानेन्द्र मल्लको नाम त्यसमा थिएन । त्यसमा उनको कुनै दुःखेसो त थिएन, तर आफू त्यो सूचीमा छुटेको भनेर जानकारी गराइरहेको भाव देखाउँथे ।
ज्ञानेन्द्रले त्यसअघि धेरैपटक नेपालको कप्तानी गरिसकेका थिए । जस्तो २०१४ को विश्वकप छनोटमा न्युजिल्यान्डमा यूएईविरुद्धको पहिलो खेल, २०१७ मा केन्यासँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको दुई खेल र त्यही वर्ष बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स कपमा । सबैमा ज्ञानेन्द्रको नेतृत्वमा नेपालले खेलेको थियो । उनले कप्तानी गरेको यो सबै खेलमा नियमित कप्तान पारस खड्का या घाइते भएका थिए अथवा अस्वस्थ थिए ।
एक हिसाबमा ज्ञानेन्द्र पूर्ण कप्तान बनिसकेका थिएनन् । जुन संस्थाले नेपाली क्रिकेटका कप्तानहरूलाई सम्मान गरेको थियो त्यसमा सबै पूर्ण कप्तान थिए । ज्ञानेन्द्र काम चलाउ कप्तान मात्र थिए । सम्भवतः त्यसैले उनको नाम सम्मान पाउन लागेको त्यो सूचीमा थिएन । झन्डै साढे तीन वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले हालै नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध ससर्त फुकुवा गरेको थियो । क्यान निलम्बन फुकुवा भएको भोलिपल्टै पारसले कप्तानी त्याग गरेका थिए । त्योसँगै रिक्त भएको स्थानमा क्यानले ज्ञानेन्द्रलाई नेतृत्व सुम्पने निर्णय गरेको थियो ।
अब कुनै व्यक्ति वा संस्थाले पुनः नेपाली क्रिकेट कप्तानहरूलाई सम्मान गरेमा ज्ञानेन्द्र पनि त्यसमा पर्नेछन् । उत्तम कर्माचार्य, लेखबहादुर क्षेत्री, पवन अग्रवाल, गणेश शाही, राजु खड्का, परेश लोहनी, विनोद दास, पारससँगै ज्ञानेन्द्रको नाम नेपालको क्रिकेट कप्तानको सूचीमा थपिएको छ । पारस र ज्ञानेन्द्रलाई एकैपटक नेपालको नेतृत्व सुम्पिएको थियो । २००९ मा एसीसी ट्वान्टी–२० खेल्न यूएई गएको नेपाली टोलीमा पारसलाई कप्तान र ज्ञानेन्द्रलाई उपकप्तानको जिम्मेवारी दिइएको थियो । पारस निरन्तर १० वर्षसम्म नेपालको कप्तान रहे । यस क्रममा नेपाली क्रिकेटले ठूलो छलाङ मार्‍यो । विश्व क्रिकेट लिगमा डिभिजन ५ मा रहेको नेपाल अहिले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टोली हो । यसबीचमा नेपालले डिभिजन ५, ४ र ३ को उपाधि उचाल्यो । २०१४ मा त नेपालले विश्व ट्वान्टी–२० मै खेल्दै हङकङ र अफगानिस्तानमाथि विजय हात पार्‍यो । ट्वान्टी–२० विश्वकप खेलेको भन्दा अझ ठूलो महत्त्व छ एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको ।
यी सबै यात्रामा टिम नेतृत्वमा ज्ञानेन्द्रको भूमिका उही थियो, उपकप्तान । पारसले कप्तानबाट दिएको राजीनामालाई धेरैले स्वाभाविक रूपमा अझै लिन सकेका छैनन् । यही अन्योलमा नेपालले नयाँ कप्तान छान्नुपर्ने थियो । नेपाली क्रिकेटका कप्तान परिवर्तनका पछिल्ला केही शृंखलामा स्वाभाविक रूपमा नयाँ कप्तान देखिएका थिए । जस्तो पवन अग्रवालपछि राजु खड्का, राजुपछि विनोद दास, विनोदपछि पारस कप्तान हुने लगभग तय जस्तै थियो । ज्ञानेन्द्र पनि पारसपछिका ‘नेचुरल सक्सेसर’ थिए ।

नेपाली क्रिकेट टोली पहिलाजस्तो अहिले छैन । टिममा धेरै मनमुटावहरू देखिएका छन् । त्यसैले एउटा समूह टिमभित्रको अरू खेलाडीलाई पनि कप्तान बनाउन लागिरहेको थियो । यही अन्योललाई चिर्दै क्यानले ज्ञानेन्द्रलाई जिम्मेवारी दिएको हो । कसलाई कप्तान बनाउनेमा क्यान आफैं अन्योल देखिन्थ्यो । निर्वाचनबाट भर्खर आएकाले क्यान आफैंसँग पनि खेलाडी छनोट समिति थिएन । क्यान आफैंले ज्ञानेन्द्रलाई छाने पनि प्रक्रियागत हिसाबले त्यो विवादस्पद बन्ने थियो । क्यानले नेपालका मुख्य प्रशिक्षक उमेश पटवाल र राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमाटालाई राख्दै एउटा प्राविधिक समिति बनायो र त्यसले नयाँ कप्तानको टुंगो लगायो । पारसले आफ्नो राजीनामापछि अबको नेतृत्व कसलाई दिनेभन्दा ज्ञानेन्द्रलाई दिनु उत्तम हुने जनाएका थिए । पारसको शुभकामना ज्ञानेन्द्रलाई स्पष्ट थियो । ज्ञानेन्द्रसँगै शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र सन्दीप लामिछाने कप्तानका लागि दाबेदार देखिएका थिए ।


पारसले बनाएको त्यही लेगासीलाई कायम राख्नु अहिले ज्ञानेन्द्रसामु सबैभन्दा ठूलो चुनौती हो । पारसले गर्दा नेपाली क्रिकेटबाट उच्च आकांक्षा राखिएको र त्यसमा आफु खरो उत्रने पर्ने ज्ञानेन्द्र स्विकार्छन् । ‘पूर्ण कप्तानी पाउनु र काम चलाउ जिम्मेवारी पाउनुमा धेरै फरक छ । यसमा चुनौतीसँगै अवसर पनि छ, सजिलो त पक्कै छैन,’ जिम्मेवारी र चुनौती थपिएर गर्विलो महसुस गर्दै ज्ञानेन्द्र भन्छन्, ‘नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट कप्तानको छाप छोडिसकेको छ । पारसको कप्तानीको त्यो पहिचानलाई पछ्याउन चुनौती नै छ । पारसको लेगासीलाई कायम राख्नुपर्नेछ ।’ योसँगै उनी नेपाल क्रिकेटलाई अझ अगाडि बढाउने अवसर पनि देख्छन् । यो मौका टिमका सबैलाई आएको उनको ठहर छ । ‘मलाई कहिल्यै पनि म कप्तान बन्नुपर्छ, हुनुपर्छ भन्ने लागेन । पारसले जुन हिसाबले नेतृत्व गरिरहेका थिए, त्यो असाधारण नै थियो । पारस रहुन्जेल उपकप्तान भए पनि मलाई कहिल्यै कप्तान हुनुपर्छ भन्ने लागेन,’ पारसले राजीनामा दिएपछि मात्र आफूले कप्तानको बारेमा सोच्न लागेको उनी बताउँदै थिए ।
ज्ञानेन्द्र नेपालका कीर्तिमानी खेलाडी हुन् । २००६ मा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गर्दै पहिलो दुई खेलमा अर्धशतक बनाएका थिए । यो कीर्तिमानलाई अझै नेपाली खेलाडीले भेटाउन सकेका छैनन् । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो अर्धशतक बनाउने नेपाली खेलाडीको कीर्तिमान उनकै नाममा छ । उनले मलेसियाविरुद्ध यसै वर्ष २० बलमा अर्धशतक बनाएका थिए, २०१२ मा साउदी अरेबियाविरुद्ध एसीसी ट्रफीमा एकै ओभरमा ६ चौका प्रहार गरेका थिए । २०१४ को विश्व ट्वान्टी–२० मा उनको अफगानिस्तानविरुद्धको आक्रामक ब्याटिङ अझै धेरैको मनमा गढेको छ । नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने ज्ञानेन्द्र नै हुन् । चलखेलबाहेक ज्ञानेन्द्रलाई कसैले कप्तानीबाट रोक्न खोज्थ्यो भने त्यो उसको कमजोर फर्म नै थियो । उनको ब्याटिङ खासै चल्न सकिरहेको थिएन । राम्रो प्रदर्शन दिन नसक्दा उनको टिममा स्थान सुरक्षित नभएको अवस्थामा कसरी ज्ञानेन्द्रलाई कप्तान बनाउने भन्ने एउटा प्रश्न थियो ।

२९ वर्षीय ज्ञानेन्द्र हालै पहिलोपटक पिता बनेका थिए । त्यसैले हालै सिंगापुरको त्रिकोणात्मक ट्वान्टी–२० शृंखला, पाँच राष्ट्र सम्मिलित ओमानको ट्वान्टी–२० शृंखला पारिवारिक कारण गुमाएका थिए । त्यसअघि विश्व ट्वान्टी–२० एसिया छनोटमा उनले नेपालबाट सबैभन्दा बढी रन बनाएका थिए, त्यसमा ब्याटिङ स्ट्राइक रेट नै १ सय ७० को हाराहारी थियो । त्यसका बाबजुद नेपाल छनोट हुन सकेन । सिंगापुर र कतारका अगाडि नेपाल तेस्रो स्थानमा मात्र रह्यो । कलात्मक यी ब्याट्सम्यानले आफ्नो क्षमताअनुसार प्रदर्शनका आधारमा आफैंलाई न्याय गर्न सकेका छैनन् । उनको ब्याटिङ ग्राफ नेप्सेको सूचकजस्तो उकालो लागेको पनि छैन, स्थिर पनि छैन । तल–माथि भइरहेको छ । त्यसैले उनको आलोचकहरू पनि उत्तिकै छन् । उनले एकरूपको प्रदर्शन गर्न सकिरहेका छैनन् । गत वर्ष विश्वकप छनोटमा उनीबाट ठूलो अपेक्षा राखिएको थियो । उनको प्रदर्शन भने निकै कमजोर रह्यो । उनी नेपाली टोलीमै नरहने स्थिति पनि आयो । त्यही प्रतियोगितामा शीर्ष आठभित्र पर्दै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टोली बन्यो ।
उनले २०१४ मा सिंगापुरसँग डिभिजन ३ मा बनाएको शतक पहिलो थियो । यसले सबैभन्दा खुसी प्रशिक्षक पुबुदु दासानायकेलाई बनाएको थियो । दासानायकेले सोचेको जस्तो प्रदर्शन ज्ञानेन्द्रले दिन सकिरहेका थिएनन् । व्यक्तिगत ३० र ४० रनको बीचमा आउट हुनु ज्ञानेन्द्रको नियमितता नै जस्तो बनेको थियो । शतकले ज्ञानेन्द्रको आत्मविश्वासलाई फर्काउँछ भन्ने बुझाइ प्रशिक्षकको थियो । त्यसपछि पनि ज्ञानेन्द्रको प्रदर्शन उस्तै रह्यो, औसतको छेउछाउ मात्र । पारसको खेलजीवनलाई दुई भागमा छुट्याउँदा कप्तान अघि र पछिको प्रदर्शन विश्लेषण गर्नु महत्त्वपूर्ण हुन्छ । कप्तान बन्नुअघि पारसको प्रदर्शन पनि ठीकठाक खाले मात्र थियो । कप्तान बनेपछि उनको प्रदर्शन अकासिएको थियो । पूर्ण कप्तानले ज्ञानेन्द्रको ब्याटिङ प्रदर्शनलाई नउकास्ला भन्न सकिन्न ।
यसअघि ज्ञानेन्द्र जतिमा कप्तान बने त्यसमा नेपालले खासै उल्लेखनीय केही गरेको छैन । यू–१९ मा नेपालले गरेको एकछत्र राज ज्ञानेन्द्र कप्तान बनेपछि रोकिएको थियो । २००१, २००३, २००५ र २००७ मा गरी नेपालले लगातार चारपटक एसीसी यू–१९ कप जित्दै लगातार पाँच पटक यू–१९ विश्वकपमा पुगेको थियो । ज्ञानेन्द्रको कप्तानीमा नेपाल २००९ को एसीसी यू–१९ कपमा सेमिफाइनलमै रोकिएर विश्वकपमा पुग्न असफल रह्यो । ज्ञानेन्द्रकै नेतृत्वमा नेपाल न त २०१४ मा विश्वकप छनोटमा यूएईसँगको खेल जित्न सकेको थियो । केन्यासँगको दुई खेलमा भने ज्ञानेन्द्रले नेपाललाई एकमा विजय दिलाएका थिए । वर्तमानलाई हेर्ने हो भने ज्ञानेन्द्र विगतमा जस्तो छैनन् । उनी परिपक्व बनिसकेका छन् । पारसले उनलाई निकै हक्की स्वभावको भन्ने गर्छन् । हत्तपत्त सम्झौता नगर्ने ज्ञानेन्द्रको बानी छ । उनको यो स्वभावले कस्तो कप्तान बनाउँछ हेर्न बाँकी छ ।
ज्ञानेन्द्र २००५ मा पहिलो पटक नेपाली टोलीमा परेका थिए । त्यही वर्ष नै उनले नेपालबाट यू–१५, यू–१७ र यू–१९ खेल्दै एकै वर्ष सबै उमेर समूह र राष्ट्रिय टोलीबाट खेल्ने कीर्तिमान बनाइसकेका थिए । यूएईमा भएको यू–१५ उनले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । संयोगले त्यसमा पनि ज्ञानेन्द्र उपकप्तान नै थिए । उपकप्तानसँग उनको सामीप्यता निकै गाढा छ । उनी पारस नेपालको यू–१९ को कप्तान हुँदा पनि उपकप्तान नै थिए । सरसर्ती हेर्दा उनी पारसको पथलाई पछ्याइरहेका छन् ।
Twitter: @dearbinod

Page 18
कोसेली

अत्यासलाग्दो नेपाली निद्रा

अनेकन मरुभूमि, पर्वतमाला नाघेर दुई हजार वर्षअघि नै एसियाको सिंह बनिसकेको चीनतर्फको बाटोका कठिनाइको व्याख्या हामी भने सिरक ओढेर अल्छे निद्रा झिक्दै रकेट युगमा फलाकिरहेछौं ।
- यादव देवकोटा

उपोद्घात

चिनियाँ राष्ट्रपति सी चिनफिङले तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिको तहमा नेपालको भ्रमण गर्दाका दिनमा हामीकहाँ रेल, विकास, सम्झौताहरूबारे जुन स्तरको बहसको वर्षा भएको थियो अब विस्तारै सेलाउन थालेको छ । चिसो हिमाली सिरेटोले डामिएको उच्च शृंखला पार गर्दै यता तातिन आइपुगेको नेपाली समृद्धिको बहसमा चिनियाँ सहायताको विमर्श विस्तारै सेलाउँदै जानेछ । बौद्धिकहरूमाझ चलेको चीन नेपाल सम्बन्ध या चीनको अन्तर्राष्ट्रिय सान्दर्भिकताबीच नेपालको अनुकूलताबारेका टिप्पणीहरू पनि अब मुर्झाउनेछ । यो आलेखले भने मध्य–एसियामा अवस्थित चीन र यसका निवासी कसरी कमसेकम सत्र सय वर्षदेखि नेपालका लागि सदैव उत्तिकै सान्दर्भिक भएर उभिएका छन् भन्नेमा केन्द्रित रहनेछ ।

गोरेटो
‘नेपाल’ शब्द उल्लेख भएका विभिन्न सामग्री खोज्ने क्रममा उपलब्ध केही सीमित सामग्रीहरूकै सम्बन्ध पनि जोडिन्छ चीनतिरै । यसका बासिन्दाहरूले विभिन्न समयमा गरेको नेपाल यात्रा या त्यसबखतका बौद्ध साहित्य, सामग्रीको अनुवादमा सामेल चिनियाँहरू जोडिन आउँछन् नेपालको परिचयात्मक कालखण्डको सामग्रीदेखि नै । जिनमित्रको ‘मुलसर्वास्तिवाद संग्रह’ को अनुवाद गरेका छन् चिनियाँ यात्री इत्सिनले, जुन ग्रन्थमा बुद्ध नेपाल आएको उल्लेख गरेका पाइन्छ । स्वयम्भू पुराणले मञ्जुश्रीलाई महाचीनबाट आएको उल्लेख गरेको पाइन्छ । यद्यपि मञ्जुश्री नाम भने हिन्दु संस्कृतिको परिपोषक देखिन्छ, चिनियाँ नाम परम्परासँग मेल खाँदैन । वंशावलीले मञ्जुश्रीसँग ठूलो संख्यामा ब्राहृमण र क्षेत्रीय पनि साथै आएको उल्लेख गरेकाले उनी चिनियाँ थिएनन् भन्ने संकेत गर्छ । वंशावलीले त्रेता युगमा आएर उपत्यकाको पानी चोभारलाई खड्गले काटी निकास दिएको उल्लेख गरिएका मञ्जुश्रीलाई मञ्जुश्री मूलकल्पले गौतम वुद्धसँग शिष्यवत् प्रश्न गरेको उल्लेख हुनुले उनी ‘त्रेता युग’ का थिएनन् भन्ने उसै पनि प्रस्टिन्छ ।
त्यसपछि यहाँ बौद्ध ज्ञान र सम्बन्धित दर्शनका सामग्री खोज्न आएका चिनियाँ यात्रीहरूको वर्णनको उल्लेखबेगर नेपालको परिचयात्मक कालको इतिहास पूर्ण हुँदैन । हेर्दा भारतीय भूगोल र संस्कृतिसँगको सामीप्यता रहेको नेपालबारे प्राचीन भारतीय–आर्य–संस्कृत साहित्यमा निकै कम मात्र उल्लेख भएको पाइन्छ, जति चिनियाँ विवरणहरूमा लिखित छ । सेंग त्साई, फा–हियान, युवान च्वागं लगायतले उल्लेख गरेको यात्रा विवरणका आधारमा बुद्धको जन्मभूमि र कपिलवस्तुबारे भारतीयहरूले निकालेको भ्रमपूर्ण खिचलो समेत बखेडाको नियतबाट माथि उठ्न नसक्ने गरी खण्डित बनाइदिएको छ । यसका लागि नेपाली समाज चिनियाँ नागरिकको अठार सय वर्ष लामो योगदानलाई आत्मीयतापूर्वक कृतज्ञ बनिरहनेछ ।
उसो त नेपालमा सभ्यताको विकासको मूलस्रोत चिनियाँ भूमिबाट आएका बासिन्दाहरू नै थिए भन्ने सवालहरू उठ्नु स्वाभाविक पनि छ । प्राचीन मानवाशेषहरू जे जति भेटिएका छन् नेपालको सरहदभित्र, प्राचीन समयमा विशाल समुद्री भेग नाघेर भन्दा मानव पुर्खाहरू चीनको सीमा नाघेर अग्ला पर्वतमालाहरू कठिनाइपूर्वक पार गर्दै यता आयो भन्ने तर्क बलशाली नै ठहरिन्छ । उपत्यकामा सभ्यताको सुरुवातकर्ता किरातीहरूको मूल दक्षिण भारतभन्दा चिनियाँ इलाका हुनु बढी भरपर्दो छ ।

न्वारन
विश्वको तेस्रो र एसियाको सबैभन्दा लामो नदी याङ्गत्जे (याङ्जी) र विश्वको छैटौं लामो नदी वयन–कारस (वयन–कारा–उल) का नामले चिनिने वयनहार पर्वतबाट निस्की बगेको हृवागं–हो (यल्लो रिभर) नदी बीचको पानीढलोमा विकसित सभ्यता कालान्तरमा चीनको नामले परिचित छ । झ्हृोंगुअ रेनमिन गोंगहेगुओ भनेर रैथाने भाषामा परिचित र औपचारिक तवरले जनवादी गणतन्त्र चीनका नामले चिनिने आजको चीनको नाम त्यहाँ विक्रमपूर्व नै शासनमा आएको चीनवंशबाट राखिएको उल्लेख भएको पाइन्छ । हानवंशको पालमा चीनलाई हानदेश भनेर चिनिन्थ्यो । फा–हियानले आफूलाई ‘हानवासी’ भनेर परिचित गराएको उनको यात्रा विवरण पढ्दा थाहा हुन्छ । झ्हृोंगुओ अर्थात् मध्यदेशका रूपमा चिनियाँहरूले परिचय दिने चीनमा समय क्रममा चाउवंश, चीनवंश, हानवंश, सुईवंश, तागंवंश, सुङ्गवंश, मिंगवंश, चिंगवंश लगायतले शासन गरेको पाइन्छ । खासमा अंग्रेजीमा ‘चीन’ का रूपमा उच्चारण गरिने ‘किन’ राजवंशलाई उच्चारण भेदले चीन बनाएको देखिन्छ । कतिपयले चीन भन्ने देश जनाउने शब्द संस्कृतको सिना शब्दबाट आएको उल्लेख गरेको पाइन्छ । हृवागं–हो नदीको किनारमा बसोबास गरी सभ्यता विकासको सुरुवात गरेका झ्हृोउ वंशबाट यो नाम लिइएको पाइन्छ (लटुरेट्टी, केन्नेथ स्कट–दी चाइनिज दिअर हिस्ट्री एन्ड कल्चर, भाग १, विभिन्न पृष्ठहरू) ।

पखेटा
हानवंशको उदयपछि आफ्नो आकार बढाउन पखेटा फिजाउँदै अघि बढेको चीनका शासकले चाङ कइएनलाई यूचीको राजधानी रहेको अक्सस भ्याली (कुषाण) मा कूटनैतिक मिसनका लागि पठाएको थियो विक्रमपूर्वर् १९५ मा । तर चिनियाँ सीमारेखा पार गर्नासाथ चांग हुणहरूद्वारा पक्राउ परे । चिनियाँ योजनाको कार्यान्वयनका लागि खटाइएका सम्भवतः पहिलो चिनियाँ दूत चांग पक्राउ परेपछि हुणहरूको मन जित्न तिनै हुणहरूकी छोरीचेलीसँग बिहे गरे । उतै थातथलो बनाउन अभिसारित भए । दस वर्ष लामो उनीहरूसँगको बसोबास र आत्मीयताको प्रयास सफल भएपछि उनी स्वतन्त्र भए । त्यहाँबाट उनी पश्चिम लागेर ब्याक्ट्रिएना (ताहिया) गए । चीनसँग मिलापको असफल प्रयास गरे र विक्रमपूर्वको १८३ मा चीन फर्किए ।
आफ्नो मिसन असफल भए पनि ताहियामा पुग्दा चांगले देखे–चिनियाँ कपास र बाँसका सामानहरू लामो बाटो पार गरेर त्यहाँ पुगिवरी कारोबार भइरहेको । त्यही कारोबारको सम्भावनाको रिपोर्ट उनले हानवंशको मुख्यालयमा बुझाए । परिणाममा त्यसले विशाल चिनियाँ सभ्यतालाई पर्सियन, रोमन र ‘भारतीय उपमहाद्वीप’ को संस्कृति, दर्शन, बजार, सभ्यतासँग अन्तरक्रियामा ल्यायो । त्यही अन्तरक्रिया र सामीप्यताको बाटो समाउँदै चिनियाँ बजार बाँकी सभ्यताहरूसम्म आफ्ना उत्पादनहरू लिएर पुग्यो (बाग्ची, प्रबोधचन्द्र–ए थाउजेन्ड इयर्स अफ कल्चरल रिलेसन,पृ. ६) ।
आजको एसियाली प्रायद्वीपमा रहेको चीनसहितको दक्षिणी भेगका विकसित सभ्यताको इतिहास हेर्दा चिनियाँ, बाबुली र आर्यहरूबीचको आपसी सम्पर्कपछि यहाँ भव्यतम् व्यापार, विनिमय, ओहोर–दोहोरको शृंखला चलेको देखिन्छ । आर्यहरूले तिब्बतलाई लौकिक जगत्भन्दा माथि राखेर ‘त्रिविष्टम’ (स्वर्गलोक) को रूपमा अभिवादन गर्थे त्रिपुराधिपति भनिने ‘शिव’ को बासस्थान कैलाश उपस्थित रहेका कारण (आचार्य, बाबुराम–चीन, तिब्बत र नेपाल, पृ. ७) । चौबीस सय वर्षअघि चीनमा सिंहलाई संस्कृत शब्द प्रयोग गरी चिनाइएको पाइएकाले (जुन चिनियाँ परम्परामा पर्दैन) ले चीनमा बौद्ध साहित्यको प्रभाव या चिनियाँ समाजको तत्कालीन ‘भारतीय उप–महाद्वीप’ मा सम्पर्क र सम्बन्ध चलिसकेको देखाउँछ (गुडरिथ, एल करिङ्गटन–अ सर्ट हिस्ट्री अफ दी चाइनिज पिपुल, पृ. २८) ।
२२०० वर्ष आसपास पहिले सैन्य अभियानमा कुषाणमा आएका चिनियाँ सैन्य जनरलले (विक्रमपूर्व १८६) बुद्धको स्वर्ण प्रतिमा चीन पुर्‍याएका थिए । हानवंशका शासक मिंगले सपनामा ‘स्वर्ण मानव’ को आकृति देखेपछि त्यसबारे आफ्नो देशका मानिसबाट उनी बुद्ध भएको जानकारी लिएपछि बौद्ध धर्मप्रचारकहरूलाई निम्त्याउन उनले आफ्ना दूत पठाए । तिनै दूतले काश्यप मतंग र धर्मरक्षकलाई चीन पुर्‍याएका थिए । तिनले आफ्नो साथमा अमूल्य धार्मिक लेखोट, ग्रन्थहरू बोकेर चीन गए, अनुवाद गरे । ती बौद्ध भिक्षुहरूलाई भारतीय भनेर दाबी गरिए पनि ती खासमा भारतीय थिए कि हजारौं हजारको संख्यामा बौद्धदर्शनको बाटोमा लागेका तत्कालीन मझ्झिम भूगोलमा अकिंत कपिलवस्तु, कोलियका परिवारसँग सम्बन्धित आजको नेपाली भूगोलमा पर्ने भेकका जनहरू थिए भन्ने प्रमाणको अभावमा अस्पष्ट छ । शाक्य परिवारका सदस्य बुद्धभद्रलाई भारतीय उल्लेख गर्ने र निकै पछिसम्म नेपालको भूगोलको स्वतन्त्र अस्तित्वबारे बेखबरहरूले यताबाट गएका सबैलाई भारतीय ठान्नु अनौठो पनि थिएन ।
प्रसंगवश, त्यही मेसोमा त्यो व्यापारिक, धार्मिक मार्गको सम्बन्धरेखाभित्र आजको नेपाली भूगोल पनि जोडियो । उपल्लो मुस्ताङ (मोन्तांग) मा उपस्थित प्राचीन सभ्यताको अवशेष, त्यहाँका गुफाहरूमा पाइएका मानव अस्थिशेषहरू हेर्दा त्यही उपल्लो मुस्ताङको कोरला घाँटी हुँदै प्राचीन चीन–बौद्ध अधिराज्यहरूबीच कारोबार चल्ने गरेको लख काट्न सकिन्छ । सम्भवतः कुशीनगर, पभा, भोजनगर, वैशाली, राजगृहको व्यापारिक मार्ग कपिलवस्तु हुँदै मुस्ताङ छिचोलेर तिब्बत पुग्थ्यो ।

मूलबाटो अर्थात् सिल्क रोड
त्यसरी बाँस र कपासका सामानहरूको व्यापारका लागि मार्गहरू तय गर्न र सुरक्षाका लागि चीनले मध्य–एसियामा दर्जनौं सैन्य अभियानहरू सञ्चालन गर्‍यो । विक्रमको पहिलो शताब्दीसम्म आइपुग्दा मध्य–एसियाका अनेकन स–साना राज्यहरूले चिनियाँ आधिपत्य स्वीकार गरे । त्योसँगै चीनको पश्चिमी दुनियाँमा पुग्ने व्यापारिक मार्ग खुला भयो । भनिन्छ खच्चड, गधा, उँटलाई सर्वप्रथम घरेलु तवरले प्रयोगमा ल्याउने चिनियाँहरू नै थिए, इसापूर्वको तेस्रो शदीअघि नै । रेशमी कपडाहरू पामिरको विशाल भूमि पार गरेर पश्चिमी बजारमा पुर्‍याउन ती उँटहरूको प्रयोग गरिन्थ्यो (गुडरिच, एल करिङ्गटन–अ सर्ट हिस्ट्री अफ दी चाइनिज पिपुल, पृ २८) । बाँस र कपासका उत्पादनको घनत्व बढाउन खोलिएको मार्गबाट रेशमबाट बनेका अनेकन सामानहरू पैठारी गर्‍यो चीनले । कालान्तरमा त्यही रेशमी सामान यात्रारत मार्ग रेशमी मार्ग (सिल्क रोड) का नामले विश्वपरिचित भयो ।
विक्रमपूर्वको ५५०–३९० देखि नै अनौपचारिक प्रयोगको रेशमी मार्ग ‘हानवंश’ को पालामा विक्रमपूर्व १८७ देखि औपचारिक तवरले प्रयोगमा आयो र पन्ध्रौं शताब्दीको मध्यतिर आएर यसमा अनेकन कारणहरूले अवरोध आयो । युनेस्कोको विवरणअनुसार शियान–तक्ला मकान मरुभूमि–पामिर–कश्मीर–गान्धार (अफगानिस्तान)–भियतनाम–टर्की–इरान–जाग्रोस पर्वतमाला–सुलेसिया–इराक (टिग्रिस नदी) –स्टेसिफोन –सिरियन मरुभूमि–पालमाइरन–रोम–ग्रिस–इजिप्ट –अफ्रिका पुग्ने ६४०० किमि लामो यो मार्गको भव्यतम् महत्त्व भने यी भूगोलवासीहरूबीचको संस्कृति, कला, धर्म, दर्शन, प्रविधि, भाषा, विज्ञान, वास्तुकलाको आदानप्रदान थियो । शत्रुहरूको भूमि छल्ने क्रममा यो मार्ग धेरैपटक अदलबदलमा पर्‍यो । रोमहरूले पर्सियनहरूलाई छल्न ककेससको बाटो अघि बढेको देखिनु त्यसको उदाहरण हो ।
त्यसरी बाँस र कपासका सामान बेच्न बाइस सय वर्षअघि खोलिएको मार्गले चिनियाँ सभ्यतालाई बाँकी विश्व बजारका आवश्यकताहरूको पूरकको रूपमा उभ्यायो । हामी भने त्यसरी चीनले रेशम मार्ग औपचारिक तवरले सञ्चालनमा ल्याएको बाइस सय वर्षपछि पनि चीनसँग जोड्ने भनिएको रेलमार्ग कि फराकिलो सडक मार्ग भन्ने बहसमा छौं । के ल्याउने, के लाने भन्ने पिरलोले डेढ अर्ब जनसंख्यासँग सहज तवरले जोडिने नेपाली सम्भावना कचल्टिएको छ । भारतसितको एकोहोरो निर्भरताको सिरानी हालेर अत्यासलाग्दो निद्रामा पल्टनु नेपाली चरित्रको रूपमा विकास भएको छ । त्यसैको फाइदा उठाएर भारतले नेपालमाथि पटकपटक लादेको हैकम र अप्ठेरोमा परेको बखतमा समेत आफ्नो निहीत स्वार्थ कार्यान्वयन गराउन नाकाबन्दी लगाउने हदमा उत्रिइरहेपछि नेपालले एकोहोरो निर्भरताको निद्राबाट बेलाबखत ब्युँझन खोजेजस्तो गरेको देखिन्छ । नाकाबन्दी या यस्तै अप्ठेरोहरू अलिक फुकेर गएपछि भने नेपाललाई फेरि पनि उही एकोहोरो निर्भरताको सिरानी हालेर निमग्न निदाउनमै फुर्सद हुँदैन ।
अनेकन आन्तरिक कमजोरी, मानिसले दैनिक जीवनमा व्यहोरेका अनेकन अप्ठेराहरूमाथि क्रूर टुक्काबाजीका बाबजुद पछिल्लो भारतीय नाकाबन्दीयता प्रधानमन्त्री केपी ओलीले जसरी चीनतिरको नेपाली मार्ग सहज गराउने धिमै सही, प्रयास अघि बढाएका छन्, त्यसको दूरगामी महत्त्व रहनेछ । ओली नेपाली इतिहासको टुक्रे हरफमा जति दुर्नाम महाकाली सन्धिमा प्रकट सन्दिग्ध सक्रियताका कारण सम्झिइनेछन्, उत्तिकै चीनसँग नेपालको दीर्घकालीन रणनीतिक सक्रियताका कारण सम्झिइनेछन् । चिनियाँहरूले समेत निकै कठिन भनेको रेलको धूनमा निमग्न हुन छाडेर चीनतिरको बाटो फराकिलो बनाउने, नाका चुस्तदुरुस्त बनाउने काममा सक्रियता देखाउन सके त्यसले न ओलीको रेलको किस्सा फितलो हुनेछ न उनको अहम्को घोडाको नाथ्री फुट्नेछ । उसै पनि केरुङ–काठमाडौं सडक दूरी छोट्याउन सुरुङ बनाउन सघाउने चिनियाँ प्रतिबद्धता रेल कठिन सडक सहज भन्ने चिनियाँ निष्कर्षको रूपमा हालै सम्पन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक नेपाल भ्रमणका क्रममा प्रकट भएकै छ ।

कठिनताको अल्छे सिरक
विसं ४५६ मा ‘बौद्ध अधिराज्य’ हरूको भ्रमणमा निस्किएका चिनियाँ बौद्ध यात्री फा–हियान जब सिन्धु नदी पार गरेर उद्यान जनपदतिर अघि बढे, मानिस उनको यात्राबारे इच्छुक देखिए । सर्वथा नौलो र फरक भेषको मानिस देखेपछि उनीसँग विहारका भिक्षुहरू तर्किए । केहीले उनको यात्राबारे जिज्ञासा पनि राखे । बाटोमा जिज्ञासा राखेका मानिससँग आफू तीन वर्ष लामो कठिन यात्राबाट त्यहाँ आइपुगेको बताएपछि मानिसले आश्चर्य माने । चीनमा बौद्ध दर्शनका ग्रन्थहरू भ्रष्ट र अपर्याप्त मात्रामा रहेको महसुस गरेपछि बौद्ध दर्शनको अध्ययन र सामग्रीहरूको संकलनका लागि जीवन दाउमा राखेर त्यसरी ज्ञान संकलनका लागि अघि बढेको चिनियाँ भेटेपछि विहारका भिक्षुहरू आफूहरूको अल्छेपना र जागिरे स्वभावको नियमित तयारी पाठहरूको घोकाइ सम्झेर सम्भवतः व्याकुल भए । चांगगान–लुंग–लियंग–यांगलो–चांगयी–तुनहृवांग–गोवी मरुभूमि–ऊए–खोतन–सुगलिग पर्वत–किशा/कैकेय (सख ?)– सिन्धु नदी–उद्यान जनपद–सुहोतो (शिवी)–गान्धार–तक्षशिला–पेसावर–नगार–हेलो–लोए–योना–पितू जनपद–मथुरा–संकाश्य नगर–कान्यकुब्ज–आलेग्राम–साकेत–श्रीवास्ती (जेतवन विहार)–कपिलवस्तु–लुम्बिनी–रामग्राम–वैशाली–पाटलीपुत्र–सारनाथ–ताम्रलिप्ती–श्रीलंका–पलेमवांग–नान्जिन उनको यात्रा मार्ग थियो (भिक्षु, आनन्द ज्योति–चाइनिज पिलग्रिम्स टु सेन्ट्रल एसिया, इन्डिया एन्ड एसई एसिया, पृ. ३) ।
बौद्ध ग्रन्थहरूको पूर्णकृति प्राप्तिको उद्देश्यले फा–हियान भिक्षु संघका अन्य सदस्यहरू हृवेचिगं, त्वचिगं, हृवेयिगं, हृवेविईसहित ६० वर्षको उमेरमा बौद्ध अधिराज्यहरूको भ्रमणमा निस्किएका थिए, जसको सर्वथा अभावले चिनियाँ बौद्ध समाज तड्पिएको थियो । विशाल मरुभूमिको बाटो हुँदै फा–हियान चीनबाट यता आएका थिए । त्यस्तो अत्यासलाग्दो मरुभूमि जहाँ न आकाशमा उडिरहेका चराहरू देखिन्थे न जमिनमा जनावर । चरा उडेको देख्नसम्म पाए पनि तिनैले कावा हानेको दिशा ताक्दै अघि बढ्न सक्थ्यो उनको टोली । त्यो विशाल गोवी मरुभूमिको बाटो हुँदै पहिले हिँड्दा मरेकाहरूको सुक्खा हड्डीहरूको निसाना टेक्दै ऊनीहरू अघि बढेका थिए (सेन, सुरेन्द्रनाथ– इन्डिया थ्रु दी चाइनिज आई, पृ. ५) । सुकेका हड्डीहरूमा टेक्दै यहाँ आइपुग्नुलाई समेत कुनै कठिनाइ नमानेका फा–हियान यता आइपुगेको सोह्र सय वर्षपछि पनि हामी भने चीनतर्फको बाटो कठिन भएको झ्याउरे रट्न व्यस्त छौं । अनेकन मरुभूमि, पर्वतमाला नाघेर दुई हजार वर्षअघि नै एसियाको सिंह बनिसकेको चीनतर्फको बाटोका कठिनाइको व्याख्या हामी भने सिरक ओढेर अल्छे निद्रा झिक्दै रकेट युगमा फलाकिरहेछौं ।

तत्कालीन उयगं (हाल शान्शी) मा जन्मेका फा–हियानको बाल्यकालको नाम कुंग थियो । तीन दाजुभाइहरू दस वर्षको अन्तरालमा बाल्यकालमै बितेपछि जन्मिएका कुंगलाई उनका मातापिताले भिक्षु संघलाई दिएका थिए । ‘सामनेर’ को चरणबाट ‘प्रवज्या’ लिएपछि उनको नाम ‘कुंग’ बाट ‘फा–हियान’ रहन गएको थियो । ‘फा’ को अर्थ ‘धर्म’ र हियानको अर्थ ‘रक्षक’ या आचार्य हुने भएकाले उनलाई संस्कृत साहित्यमा धर्मरक्षकका नामले समेत उल्लेख गरेको पाइन्छ । विसं ४५६ देखि ४७१ सम्म यताको भ्रमण सकेर नानकिन फर्किएपछि नेपाली भिक्षु बुद्धभद्रसँग मिलेर अनेकन बौद्धग्रन्थहरूको चिनियाँ अनुवाद गरे र आफ्नो यात्रा विवरण लेखे र ८८ वर्षको उमेरमा उनको निधन भयो (बिल, सामुइल–बुद्धिस्ट रेर्कड्स अफ दि वेस्टर्न वर्ल्ड) ।
सत्रवर्षे उमेरमा बौद्धविहारमा गएका कपिलवस्तु जनपदका शाक्यमुनि परिवारका बुद्धभद्र ४०८ मा चीन गए र बौद्धग्रन्थहरूको अनुवाद गरे । सुरुमा चागंएनमा बसेका उनी पछि त्यहाँ असमझदारी भएपछि (कुमारजीवसँग) ४० अन्य भिक्षुहरूसहित लुन्सान गए । त्यहाँबाट पछि नानकिन गएर फा–हियानसँग मिलेर झन्डै एक सय पच्चीस जति ग्रन्थहरूको अनुवाद गरे । तिनमा महापरिनिर्वाणसुक्त, विनयपट्टजस्ता अनमोल कृतिहरू पनि समाहित छन् (अक्सफोर्ड रिफ्रेन्स) ।
फा–हियानले लेखेबमोजिम उनी आइपुगेको बखत कपिलवस्तु, तिलौराकोटको दरबार क्षेत्र उजाड थियो । आफ्नो यात्रा विवरणमा उनले लेखेका छन्– ‘कपिलवस्तु जनपदशून्य छ । निवासीहरू निकै कम छन् । केही भिक्षु र दस घरजति सर्वसाधारण मानिसको आवादी छ । शुद्धोधनको दरबारमा कुमार र उनकी आमाको मूर्ति बनाइएको छ । बाटोभरि सेता हात्ती र बाघको बिगबिगी छ । बिनातयारी, सावधानी त्यहाँ जानु खतरनक छ’ (गिल्स, एच ए–दी ट्राभल्स अफ फा–हियान, रेकंड्स अफ दि बुद्धिस्ट किङ्गडम, पृ. ३९/४०) । त्यसको सत्र सय वर्षपछि पनि कपिलवस्तुको तिलौराकोटस्थित हंसावती दरबार परिसर उस्तै उजाड छ । विदेशी विश्वविद्यालयका पुरातत्त्वका विद्यार्थीहरूलाई शिशिरको बिदामा उत्खनन्को परीक्षणात्मक शिक्षा दिने प्रयोगशाला बनेको छ । तीन हजार वर्ष पुरानो पुरातात्त्विकस्थल वर्षको केही महिना डुर्हम विश्वविद्यालयका विद्यार्थीको पुरातत्त्व उत्खनन्को प्रयोगात्मक ज्ञान लिने प्रयोगशाला भएको छ र त्यसलाई उत्खनन्को नाम दिएर सुकिलिने खेलोमा सामेल भई बसेका छन् पुरातत्त्व विभागदेखि लुम्बिनी विकास कोषसम्म ।
फा–हियानपछि विक्रमको सातौं शताब्दीको उत्तरार्द्धमा हुएन च्वागं पनि तासकन्द मरुभूमि हुँदै पामिर पर्वतमाला पार गरेर कश्मीर हुँदै बुद्धज्ञान क्षेत्रको भ्रमणमा आएका थिए । उनी कपिलवस्तु–लुम्बिनी–रामग्रम हुँदै काठमाडौं आइपुगेका थिए । सम्भवतः काठमाडौं उत्रने पहिलो चिनियाँ (लिखित विवरणअनुसार) यिनै हुएन च्वागं थिए । उनले त्यसबखत आएर काठमाडौं उपत्यकामा जे देखें र त्यसको विवरण जसरी दिएका छन्, त्यो निकै रोचक छ–यहाँको हावापानी चिसो छ । यहाँका निवासीहरूमा सत्यता र इमानदारी त्यति साह्रो पाइँदैन । यहाँका निवासीहरू शिक्षित छैनन् । तर, कला र कौशलका काममा भने निपुर्ण छन् (थोमस, वाट्रेस–अन युवान च्वांग्स ट्राभल्स इन इन्डिया, पृ. ८३) ।’

फा–हियानबारेको भ्रम
नेपाली भूगोलमा आइपुग्ने र यहाँबारे लेख्ने पहिलो चिनियाँ भिक्षु भनेर यताका दिनमा केहीले फा–हियान(सियान) को नाममा भ्रमपूर्ण प्रचार गरेको पनि देखिन्छ । यर्थाथमा चीनका बौद्ध भिक्षु सेगं त्साई पहिलो चिनियाँ यात्री थिए जो विसं ४०७ देखि ४३२ को बीचमा कपिलवस्तु आइपुगेका थिए । फा–हियान भने विसं ४५८ देखि विसं ४६९ को बीचमा यहाँ आएका थिए । सेगं त्साईको यात्रा विवरणमा कपिलवस्तु र लुम्बिनीबारे त्यसपछिका चिनियाँ भिक्षुहरूको वर्णनमा परेभन्दा पनि प्रस्ट विवरण उल्लेख भएको पाइन्छ– ‘कपिलवस्तु राज्यले अहिले राजा पाएको छैन । सहर र पोखरीहरू मरुभूमिजस्तो उजाड मात्रै भएको छैन, प्रदूषित पनि भएको छ । त्यहाँ जम्मा बाह्र उपाशक (भिक्षु ?) र बीस घरजति शाक्य परिवार मात्रै छन्, जो शुद्धोधनको परिवारका शाखा–सन्तानहरू हुन् (पी., एल.–नर्दन इन्डिया एर्कोडिङ टु दि सुई–चिगं–चु, पृ. ३४) ।’ लुम्बिनीको विवरणमा उल्लेख छ– ‘जहाँ बुद्धलाई जन्माउँदा उनकी आमाले अशोक वृक्षको सहारा लिएकी थिइन्, त्यहाँ सम्राट् अशोकले रानीले रूखको हाँगो समाएर राजकुमारलाई जन्म दिएको मूर्ति कुँदाएका छन् । पुराना रूखहरू मर्दै गएपछि त्यसका अवशेष हटाएर त्यही ठाउँमा नयाँ रूख रोप्ने काम भिक्षुहरूले अविछिन्न तवरले गर्दै आइरहेका छन् । जहाँ राजकुमार जन्मिएपछि सात पाइल हिँडेका थिए, त्यो अझै संरक्षित छ । त्यहाँ अझै राजकुमारका सात पाइलाका डोब प्रस्ट देख्न सकिन्छ (पी., उही, पृ. ३५) ।

सम्पन्नताको ॅट्रान्जिट’
हामीकहाँ दाबी गरिएजस्तो लिच्छविकाल या मल्लकालमै पनि काठमाडौं उपत्यका या नेपालमा आर्थिक विकासको आधार कलकारखाना या उद्योगधन्दा थिएन । भोट र मैदानी प्रदेशका मुलुकहरूबीच चल्ने व्यापारको ‘ट्रान्जिट’ का रूपमा काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न भेगहरू सक्रिय थिए । जडिबुटी, कस्तूरी, कलाकृतिहरू नै नेपाली उत्पादनका रूपमा व्यापारमा अघि सार्न सकिने नेपाली सामान थिए । अन्यथा भोटबाट घोडा, ऊन, ऊनका तयारी माल, भेडा–च्यांग्र्रा, नुन, कस्तुरी, सुन, चाँदी, जडिबुटी, नाना प्रकारका रत्नहरू नेपालतिर आउँथे । नेपालतिरबाट विशेषत हिन्दुस्तान र बाहिरी मुलुकका कलकारखानाहरूमा तयार गरिएका दैनिक–जीवनोपयोगी मालहरू भोटतिर जान्थे (शर्मा, बालचन्द्र–नेपालको ऐतिहासिक रूपरेखा, पृ. ७) । वीरशमशेरको पालामा ब्रिटिससँग सम्झौता गरी सावरी नुन ल्याउन थालेपछि उत्तरी नाकाबाट ल्याइने हिमाली नुनसँगको नेपाली निर्भरताको लगभग दुई हजार वर्ष लामो निर्भरता दक्षिणतिर संकेन्द्रित हुन गयो ।
जसरी लिच्छविकालदेखि मध्य मल्लकालसम्म दुईतिरको ठूलो जनसंख्याको बीचमा बसेर ‘नेपाल’ ले व्यापारको ‘ट्रान्जिट’ बनेर प्रचूर आर्थिक उन्नति र सम्पन्नता हासिल गरेको थियो, आज पनि हामी झन्डै तीन अर्ब जनसंख्याको बीचको अनेकन ट्रान्जिटमध्ये एक बनेर यथोचित लाभ हासिल गर्न सक्छौं । १६७४० फिट उचाइमा रहेको ओलाङचुङ (वुङ), १३९३३ फिटमा रहेको हटिया, १९०५० फिटमा रहेको नाम्पा, २१५४४ फिटमा रहेको कुती, ६००० फिटको केरुङ, १६५३७ फिटमा रहेको साल्बु, १७००० फिटमा रहेको लार्के, १२४०२ फिटमा रहेको ल्हो–मन्थाङ, १६२२० फिटमा रहेको नाम्जा, १६०१८ फिटमा रहेको टाकलाखार, महाकाली व्यासजस्ता नाकाहरू (शर्मा, उही, विभिन्न पृष्ठहरू) सहज बनाउन सके नेपालले पर्यटन र सामान आयातको बाटो सहज बनाउन सक्छ । आम्दानी बढाउन सक्छ । आजको दिनमा संसारभर सबैभन्दा बढी घुम्ने पर्यटकमा छिमेकका चिनियाँहरू छन् । आवश्यक सडक, बसोबास र गतिविधि बढाउन सके नेपालको प्राकृतिक सौन्दर्यमा रमाउन आउने चिनियाँ पर्यटकको संख्या बढाउन सके त्यो नै नेपालको आयआर्जनको प्रमुख स्रोत भएर जानेछ ।
रेल वा फराकिला सडक बनेर चल्ने सवारीमा हाम्रो आफ्नै के उत्पादन हालेर पठाउने भन्ने महत्त्वपूर्ण र प्राथमिक प्रश्न अवश्य हो । तर, त्यो नै अन्तिम सवाल भने होइन । राष्ट्रिय उत्पादन वृद्धि गरेर स्वावलम्बनको बाटो समात्ने, निर्यातजन्य वस्तु उत्पादनमा जोड दिने र सहज यातायातबाट तीन अर्ब जनसंख्याबीचको चलायमान ट्रान्जिट बन्ने आत्मविश्वास तयार गर्दै दुई भीमकाय हात्तीहरूमा सवार तीन अर्ब जनसंख्यालाई अल्छी गरेर सबैले देख्न सक्ने गरी सुतिबसेको चितुवा हेर्न ल्याउन सके मात्रै पनि यहाँको अर्थतन्त्रले फड्को मार्न समय लाग्दैन ।

तरुल कि चितुवा
यताको लामो समयदेखि नेपाललाई दुई ढुंगाबीचको तरुलको रूपमा व्याख्या गर्ने काम भइरहेको छ । खासगरी पृथ्वीनारायणको ‘उपदेश’ लाई सिरानी हालेर हामी त्यही माटोमुनिको तरुलझैं चुपचाप निदाइबसेका छौं । हाम्रो चेतना नै कस्तो भएको छ भने निद्रामा अलिकति चल्मलाए मात्रै पनि ढुंगाको बीचको हामी तरुल चोट लागेर घायल हुन सक्छौं भनेर शताब्दीभन्दा लामो कुम्भकर्ण निद्रामा निमग्न छौं बिनाचलमल । केहीले यसलाई दुई देशबीचको गतिशील पुल भन्ने गरेको पनि पाइन्छ । गतिशील भए पनि पुलको काम पनि स्थिर हुने या अरूको भरमा हल्लिनेबाहेक अरू केही हुन्न । नत्र निदाइबस्नु नै पुलको पनि नियति हो ।
खासमा नेपाल हुनुपर्ने दुईवटा विशालकायाका हात्तीहरूको बीचमा रहेको गतिवान् चितुवा हो । यस्तो चितुवा जो हात्तीहरूको गतिको चाल मारेर त्यहीबीचमा आफ्नो आवश्यकताको सीमारेखा तय गर्न सक्छ । हात्तिहरूले चढ्न नसक्ने अग्ला हिमाल, पहाडको चक्कर मार्न सक्छ । ती दुईबीचको संवाहक र तिनले टिप्न नसक्ने अक्करको फल टिप्न सक्छ र दुवैलाई दिएर आफू सम्पन्न हुन सक्छ । तर, हाम्रो नियति भने अजंगका दुई हात्ती आफूतिर बढ्दै आएर टाउकोमा लात्ती बर्जादासम्म पनि निमग्न निदाइराख्ने अल्छी चितुवामा विघटित छ । आफ्नै कुनै उद्यम नहुने र हात्तीले सिकार गरिदिएर पेट भरुँला भन्ने चितुवाको नियति अन्ततः भोकै मर्नुमा टुंगिने निश्चितै छ । किन पनि भने चितुवाको भोजन र हात्तीको भोजनको भिन्नता नचिनी हात्तीको भरोसामा बस्ने चितुवाले घाँस खाएर कति नै पो गुजारा चलाउन सक्छ र ? २नबगलफयबलअजजभथ

Page 19
कोसेली

उभयदासको डायरी

 

त्योढुङ्गो कहिलेदेखि हाम्रो घरमा थियो मलाई हेक्का छैन । बा, जिबाहरूले कुरा गरेको सुनेको थिएँ– यो शङ्खेढुङ्गा हो । ढुङ्गाको बीच भागमा शङ्ख आकृतिको प्वाल परेकाले यसलाई शङ्खेढुङ्गा भनिएको होला । सायद बेसीमा हाम्रो घर बनाइँदा कर्मीहरूले कतैबाट त्यो ल्याएका थिए । बा भन्नुहुन्थ्यो– डल्ले ढुङ्गाले जग र गाह्रो हल्लाउने भएकाले त्यसलाई जगमा नराखिएको हो । त्यो केही चिप्लो थियो, दर्शने ढुङ्गाजस्तो कतै खरी मिसिएको जस्तो । हँसिया,
बञ्चरो उजाउन पनि नहुने । यस्तो लाग्थ्यो– त्यो ढुङ्गा प्रयोजनहीन पदार्थ हो ।
भन्नुहुन्थ्यो आमाज्यामाहरू, ‘यो मोरो डल्ले न ताई बसाउन हुन्छ न रसेटो गराउन ।’ उहाँहरू सुनाउन हुन्थ्यो– कतिपटक त्यो ढुङ्गा हल्लेर तिहारका रोटी पकाउन बसालेको ताईको बाहान घोप्टिएको छ । सायद पटकपटक तेल पोखिएर होला ऊ चिल्लो र केही कालो छ । म सोच्थेँ– के यस्ता डल्ले वस्तुको कुनै प्रयोजन हुँदैन ? फेरि देख्थेँ, शङ्खेढुङ्गा खलामा राखेर त्यसमाथि धान झाँटेको । सँधैसँधैं शङ्खेढुङ्गाले धानको चुटाइ खाएको छ अथवा धान झारिएको छ ऊमाथि मुठा पछारेर । ऊखु पेलेको दिन रसेटोमा लाँक्रा तताएर त्यही ढुङ्गामा पड्काएर हामी रमाउँथ्यौँ ।
बुझ्ने भएपछि शङ्खेढुङ्गा चुटिएको, पिटिएर देखेर म कतिपटक रोएको छु । कस्तो अवहेलित होला यो ढुङ्गा । यसको के जात मिलेन, के स्वरूप र रङ मिलेन अथवा ग्रहदशा र बान्की मिलेन र जगमा बस्न पाएन ? गाह्रोमा मिल्ल पाएन । मन्दिर र देवता हुनु त आकाशको फल नै भयो । मन्दिरको पर्खाल पनि हुन पाएन । र पनि ऊ यसरी बिनाअर्थ चुटिएकै हुन्छ, पिटिएकै हुन्छ । बारीमा कहिले यता कहिले उता मिल्किएको त्यो ढुङ्गा तुलसी मठनेर ल्याएर मैले राखिदिएको थिएँ । बा हाँस्नुहुन्थ्यो– ‘छोरो धार्मिक प्रवृत्तिको छ ।’ विडम्बना कुनै दिन मैले भगवान्लाई नमस्कार गरिनँ । मेरा हात त्यसो गर्न बनेका थिएनन् सायद । आमा भन्नुहुन्थ्यो– ‘बाउआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामुढामाथि ।’ आमाले तुलसीमठमा सन्ध्या र आरती गर्दा नजिकैको त्यो ढुङ्गा रातो भएको थियो–परिणाममा पछिल्ला केही वर्षदेखि धान वा ऊखुले चुटिनु परेको थिएन त्यो ढुङ्गालाई । म सन्तुष्ट थिएँ ।
मेरो विवाह बाआमाको निधनपछि भयो, धेरै छिप्पिएपछि । आमा रुनुहुन्थ्यो– मेरो विवाह भएन भनेर । आमाज्यामाले मेरो लिङ्ग र अण्डकोष छामेको मलाई थाहा छ । मेरो लिङ्ग आकृतिमा मात्र थियो, एकदमै छोटो । भनौं न त्यही ढुङ्गाजस्तै डल्ले ! बुझ्ने भएपछि म निकै लजाउँथे आमाहरूले त्यहाँ छाम्दा । कतिपटक रोएको छु लाजले । मलाई गोज्याङ्ग्रो भनिन्थ्यो । कतिले दया दर्साउँथे, कतिले घृणा । मप्रति समाजलाई कहिल्यै संवेदनशील पाइनँ । मलाई सँधै अपराधीका रूपमा हेरिन्थ्यो । कि अभिशाप, बोझ वा अनावश्यक वस्तु !
म सुन्थेँ– मेरा कारण हाम्रो परिवारलाई हेला गरिन्थ्यो । कोही भन्थे– बाआमा चारधामबाट फर्केपछि हरिवंश नलगाएकाले म यस्तो भएर जन्मेको रे । एकपटक म खेतमा पनि लगाउन जाँदा आँपटारी काकाले भनेका थिए– ‘ओई तेरो तुरी खोई ?’ फुपाले भन्नुभएको थियो– ‘तेल लगाएर आमा पानी लिन गइछ, घर आउँदा स्यालले खाइदिएछ ।’ कुलोमा जम्मा भएका सबै हाँसे । म लाजले निहुरिएँ ।
अलि वर्षपछि म उभय लिङ्गी हुँ कि भन्ने लाग्यो तर मलाई यसबारेमा केही थाहा थिएन ।
म अरु साथीभन्दा भिन्न थिएँ । एकान्तमा महिला देख्दा लाज लाग्थ्यो । पुरुष देख्दा डर । एकातिर गोज्याङ्ग्रो, अर्कोतिर लिङ्गको आकृति मात्र, अण्डकोष नभएको । यही कारण म विद्यालय गइनँ । सुरुमा त गएको थिएँ, पछि अपमान सहन सकिन र गइनँ । मेरो विवाह यसै कारण ढिला भएको हो । धेरैपछि खोल्सापारे घर्तीले मलाई छोरी दिएँ । सामान्य तरिकाले विवाह भयो । म उपाध्याय, ऊ घर्ती । जग्गे लगाएर विवाह हुने कुरै भएन ।
विवाहपछि श्रीमती दुर्गीले आमाले जस्तै सन्ध्या र आरती गर्न थाली । उसलाई ‘बडाको घरमा यस्तो गर्नुपर्छ’ भनेर सायद सिकाइएको थियो । आमाले पूजा गर्दा रङ्गिएको शङ्खेढुङ्गालाई दुर्गीले पूजा गर्न थाली । त्यो ढुङ्गानिम्ति उसले छुट्टै दीप जलाउँथी । प्रसाद दिन्थी । कहिलेकहीं वश्त्र चढाउँथी । शङ्खेढुङ्गा पूरै रङ्गिएको हुन्थ्यो । म सोच्थेँ– दिन त एकपटक सबैको आउने रहेछ । डल्ले ढुङ्गा क्रमशः देवत्वग्रहणको चरणमा थियो । एकादशी वा हरितालिकामा दिदीबहिनीले त्यो ढुङ्गामा पूजा गर्न थाले । के भनेर, किन पूजा गर्थे मेरो चासोको विषय भएन तर रमाइलोको खेती भने भयो । उनीहरू निधारै राखेर शङ्खेढुङ्गालाई ढोग्थे । सन्तुष्ट देखिन्थे डल्लेढुङ्गा ढोग्दा । हो, आखिर कुन ढुङ्गा जन्मँदा नै दैव भएको थियो ? आखिर मानिसले न हो ढुङ्गालाई देवता बनाएका । ब्रहृमाण्ड निर्माणका क्रममा लिथिफिकेसनका प्रक्रियामा ढुङ्गालाई के पत्ता थियो कि कुन ढुङ्गा देवता बन्छ र कुनले गुहु पुछिन्छ ? शङ्खेढुङ्गाको बढोत्तरी हैसियतले दङ्ग थिएँ तर म उसलाई भगवान् होइन ढुङ्गा नै रहोस् भन्ने चाहन्थेँ ।
पछिल्ला वर्ष, जब दुर्गी दोस्रो विवाह गरेर गई, त्यो ढुङ्गाको रातो पखेलिँदै गयो । उसको नियमित पूजा हुन छाड्यो । पुरानै फुस्रो रङमा आउँदै थियो ढुङ्गा । आक्कलझुक्कल गाउँले दिदीबहिनीले पूजा गरेका हुन्थे तर त्यसको रातो त्यति टिकेको हुन्नथ्यो ।
अचानक गाउँमा हल्ला भयो– गोज्याङ्ग्रको घरबाट शङ्खेढुङ्गा हरायो । कसैले भने–त्यो ढुङ्गामा शालिग्राम थियो । कसैले भने– मुखियाले भूतप्रेतविरुद्ध बान (बाण ?) हान्न ल्याएका थिए त्यो ढुङ्गा । कसैले शङ्खेढुङ्गामा रहेको खरीमा चाँदी मिसिएकाले कोही चट्टुले ग्योज्याङ्ग्रेलाई चकलेट खान दिएर लग्यो भन्थे । मेरो सोचाइविपरीत धेरैको धेरै चासो रहेछ त्यो ढुङ्गामा । मलाई लाग्थ्यो त्यो ढुङ्गामा कसैको चासो छैन । दिन क्रमशः फेरिएका थिए । जतिखेरसम्म त्यो ढुङ्गो बारीमा थियो कसैको ध्यान गएन ऊमाथि । जब मैले तुलसी मठनेर ल्याएर राखिदिएँ, आमाले पूजा गर्दा रङ्गियो अथवा दुर्गी र अन्य दिदीबहिनीले पूजा गर्न थालेपछि त्यो ढुङ्गाको हैसियत बढ्दै गयो, मानौं देवता बन्यो ऊ । मानिसका कारण मानिसले जस्तै मानिसबाटै त्यो ढुङ्गाले शक्ति प्राप्त गर्‍यो ।
आँगनबाट हराएपछि त्यसमाथि विभिन्न थप गम्भीर प्रतिक्रिया आए । कसैले भने–गोज्याङ्ग्रेले सँगै लिएर सुत्छ त्यो ढुङ्गा । मैले यसमाथि प्रतिक्रिया दिन आवश्यक ठानिनँ । म आफूलाई प्रतिक्रियाविहीन बनाउन चाहन्थेँ ढुङ्गाजस्तै । घर वा मन्दिरको गाह्रोमा बस्न ढुङ्गाले फुट्नुपर्छ चेप्टो हुन । हजार चोट सहेपछि ऊ देवता बन्न सक्छ । पिनिनुपर्छ लोहोरोले सिलौटो भएर र सट्टामा मीठो मसला पिनिदिनुपर्छ । कुटिनुपर्छ मुसलले ओखल भएर धानलाई चामल र चामललाई पिठोमा परिणत गरिदिन । कुनै बेला ढुङ्गाले प्रतिक्रिया देखाएको मैले पाएको छैन । मलाई लाग्छ, मानिस मात्र प्रतिक्रियावादी तत्त्व हो । हो, अति भएपछि ढुङ्गा आफैंआफैं फुटिदिन्छ, चोइटिदिन्छ प्रतिक्रियामा तर उसले कुनै मानिसलाई आघात गर्दैन । आफैं दुखिदिन्छ, आफैं टुटिन्दिछ, फुटिदिन्छ तर ढुङ्गाले मानिसले जस्तो घातक प्रतिक्रिया दिँदैन ।
मानिस हुनुको नाताले मैले पनि ढुङ्गाविरुद्ध बोलेको छु । ‘तेरो मन ढुङ्गाको जस्तो छ’ कतिपटक मैले साथीहरूलाई भनेको छु । खासगरी मलाई उनीहरूले हिजडा भनेर जिस्काउँदा, छक्का भनेर हेप्दा । आमाले ‘छोराछोरीको मन....’ भनेर ढुङ्गालाई आममानिसले जस्तै कठोरतामा बुझ्नुभएको थियो क्यार ! मानिसका मन कोमल हुन्छन् जहाँ हजार लेखिन्छन् र हजार मेटिन्छन् । त्यहाँ मायाका नमेटिने स्मरण लेखिन सक्दैन । ढुङ्गामा प्रेमगीत लेखिने भए सायदै मानिस प्रेममा असफल हुने थिए । ढुङ्गाका अक्षर मेटिँदैनन् मनका स्मरण वा कागजका अक्षर जसरी । म ढुङ्गालाई कठोर होइन अठोट भन्न चाहन्छु । मेरा लागि ढुङ्गा प्रेरणा र परिवार हो । म ढुङ्गा हुन चाहन्छु । मलाई मानिस हुनुमा कुनै मोह छैन । उनीहरू कसैले पनि मप्रति सम्मान गरेका छैनन् । यसविपरीत कुनै पनि ढुङ्गाले मलाई अवहेलना गरेका छैनन् । हरेक बाबुआमाले मजस्तो सन्तान जन्माउन सक्छन् भन्ने सम्भावनालाई सम्मान नगर्ने मानिस मेरा लागि रोजा वस्तु होइनन् । हुन सक्दैनन् ।
मभित्रको तृष्णा मेटिएको थिएन शङ्खेढुङ्गालाई तुलसीमठ छेउ राखेर । एक दिन राति कसैले थाहा नपाउने गरी त्यो ढुङ्गा ओच्छ्याननेर ल्याएँ । म राति अबेरसम्म ढुङ्गा हेरेर बसेँ । कति दिन ढुङ्गा हेर्दाहेर्दै निदाएको छु । निदाउँदा निदाउँदै सपनामा ढुङ्गासँग खेलेर बिउँझिएको छु । नजिकै गएर बसेको छु । बिस्तारै ढुङ्गामाथि हात राखेको छु । ऊबिना प्रतिक्रिया उस्तै हुन्छ । सत्य हो, ढुङ्गा होइन मानिस मात्र प्रतिक्रियाका लागि बनाइएका पदार्थ हुन् !
जाडो रात थियो । छतमा गएर हेरा–आकाश डम्म बादलले भरिएको । प्रत्येक घरका प्रायः एकएक कोठा उज्याला देखिन्थे । सायद ती नव युगलका कोठा हुन् ।


भित्र पसेँ । बिस्तारामा गएँ । गोडा चिसा थिए ।
निदाउने प्रयास गरेँ । सम्भव भएन । विस्तारै उठेँ । ढुङ्गासम्म पुगेँ । छोएँ । ऊ झन् चिसो थियो । उचालेर बिस्तारामा राखेँ । उसमाथि सिराना राखेर निदाउने प्रयास गरेँ । त्यो रात कतिबेला निदाएँ पत्तो भएन । बिहान उठेर ओछ्यानबाट ढुङ्गा तलतिर झार्दै गर्दा मलाई लाग्यो आखिर ढुङ्गाको प्रयोजन मानिसको आवश्यकतामा निर्भर हुन्छ । हुन पनि या देवता या ओखल या पर्खाल या पत्थरकला या कल्ली या देवी मानिसको आवश्यकतामा ढुङ्गाको प्रयोग हुँदै आएको छ ।
कति दिन म त्यो ढुङ्गामा सिराना राखेर निदाएको छु । सुरुमा बिझाउँथ्यो । पछि त त्यस्तो अनुभव भएन, बरु कपासको सिरानीले टोक्थ्यो । जुरुक्क उचालेर ढुङ्गा ओछ्यानमा राखो । सिरक ओढाएर सुतेँ । ऊमाथि हात लगेँ । कुनै प्रतिक्रिया थिएन । म सम्झन्छु– विवाहको पर्सिपल्ट मैले यसरी नै दुर्गीको छातीमा हात राख्दा उसले मेरो हात भित्तामा ठोकिने गरी फालिदिएकी थिई । ऊ अहिले कता छ कुन्नि ! सायद ऊ मसँग विवाह गर्न चाहन्नथी । घर्ती बूढाले विवाहका सन्दर्भमा भनेका थिए रे– ‘कि घर खान्छे, नसके मुखियाको आधा सम्पत्ति चिरेर लिन्छे ।’ तर बरा मेरो एक गेडो सम्पत्ति नलिई ऊ कता गई ? उसको आवश्यकता सम्पत्ति थिएन, सन्तुष्टि थियो सायद । सुनेअनुसार उसले दोस्रो लाग्नेबाट छोरो पाएकी छ । मसँगै रहेकी भए सायद ऊ आमा बन्न सक्दिनथी । उसले ठिकै गरी । कामना गर्छु, मजस्तो सन्तान नजन्मिए हुन्थ्यो उसलाई ।
केही क्षणमा ढुङ्गा तातिँदै आयो । मलाई पनि न्यानो भयो । विस्तारै ढुङ्गामाथि खुट्टा चढाएँ । अब भने गर्मीको अनुभव भयो । पूरै नाङ्गिएर ढुङ्गालाई अँगालो मारो । उसको शङ्खजस्तो प्वालमा औंला छिराएँ । मलाई ढुङ्गाले बिझाएन । बरु आनन्द अनुभूति भयो । धेरैबेर उसरी नै बसेँ । केहीबेरमा उठेर आफ्नो लिङ्ग हेरेँ । ऊ छोटो मात्र होइन आकृतिमा मात्र थियो । छामेँ–अण्डकोष थिएन । ढुङ्गा निश्चल थियो म अधीर । ढुङ्गा एकनास थियो । म अस्थिर । धेरैबेरपछि म ग्लानिले उठेँ । आफूप्रति हार महसुस भयो । पश्चाताप, वैराग्य असन्तुलनले म असामान्य बनेँ क्यार । कन्चटको रौं उखेलेँ, दुख्यो । सोचेँ– म पागल भएको छैन, ममा चेतना सकिएको छैन । अठोट गरेँ म ढुङ्गाजस्तै स्थिर हुनुपर्छ मानिसजस्तो अस्थिर होइन । अरू मानिसका दृष्टिमा मैले गलत र अप्राकृतिक काम गरेँ तर मैले अरू मानिसले जस्तै गर्नुपर्छ र ? पर्दैन । त्यो किनभने उनीहरूले पनि मैलेजस्तो गर्दैनन् । मैले जे गरेँ ठीक गरेँ । नयाँ अभ्यास गरेँ । अभूतपूर्व चरम आनन्द पाएँ । मलाई अपमान गर्ने मानिसबिना पनि बाँच्न सक्छु भनेर मैले समाजलाई देखाउनुछ ।
भोलि तेस्रोलिङ्गीहरूको विश्व सम्मेलनमा सहभागी हुन थाइल्यान्ड जानुअघि विख्यात तेस्रोलिङ्गी उभयदासको हालै प्रकाशित चर्चित डायरी पढ्दै थिएँ । समयाभावले पूरै पढ्न पाएको छैन । सबै पढेपछि डायरीमाथि आफ्ना अनुभवसहितको विचार व्यक्त गरूँला ।

त्रिभुवनचन्द्र वाग्ले

कोसेली

चप्पलहरू

- भूपेन्द्र खड्का

 

काठको सााघु तर्दै गर्दा
एक दिन मेरा कलिला पैतालामा
ठेड्को पस्यो,
देब्रे हातको कमिजको बाहुलाले
नाकको सिंगान पुछ्दै
दायाा हातले चप्पल समाउनै लाग्दा
मेरो दायाा चप्पल कााठेखोलामा खस्यो
र, हेर्दाहेर्दै पानीको भुमरीमा
चक्कर मार्दै बगेर गयो बर्खेभेलमा
स्कुल हिंँडेको म
देब्रे चप्पल हातमा समाएर घर फर्कें
खाली खुट्टामै सकियो मेरो
कखरा जुनी !

किशोरवयमा
लामो झोलुङ्गे पुल तरेर
कलेज जान थालें,
ढल्किएको लठो
मक्किएको काठको फलेकको प्वालबाट
फेरि मेरो यौवनको चप्पल
खोलामै खस्यो
र, बगायो खोलाले उसै गरी
मेरो किशोर जुनी !

यौवनमा
एक सााझ सहर पस्दै गर्दा
बसको खुट्किलोबाट
उसैगरी खस्यो मेरो दाहिने चप्पल
र, बगायो यसपालि काली खोलाले !

दर्जनौं वर्षहरू बिते,
बाल्यकालको मेरो चप्पलमा
कीराहरूले कति प्वाल पारे होलान्
किशोरवयको मेरो चप्पलमा बसेर
खोले गाड्यौलाहरूले कति यात्रा
तय गरे होलान् !
यौवनको मेरो चप्पल त
कालीगण्डकीमा बग्दाबग्दै
शालिग्राम पो बनिसक्यो कि !

आज जीवनको पुछारमा
समूहको किनारमा उभिएको छु !
पालैपालो
मेरो बाल्यकाल, किशोरवय र यौवनका
चप्पलहरू मेरो सामुन्नेमा
बग्दैबग्दै आएका छन् !
दशकौंको उमेर
पार गरेका मेरा चप्पलहरू
मजस्तै छिद्रैछिद्रा परेका
दुब्ला र पातला छन्

तर,
भेट्नो चुाडिएरपछि
मेरी आमाले धरो च्यातेर बााधेका डोरा
आमाको उस्तै गन्धमा आज पनि
यी चप्पलहरूमा मोतीजस्तै टल्किरहेछन् !

कोसेली

बाबा, आकाशमा गएपछि पनि रक्सी पिउने ?

सुकन्या
- कान्तिपुर संवाददाता

 

अपराजिता,
यो एउटी बालिकाको मन छुने उद्गारमा मुखरित भएको एक कटुसत्य हो, जुन समाजमा दिनदिनै मौलाउँदै छ । यहाँ आम नेपाली गृहिणीले भोगिरहेको एक जटिल समस्याको चिरफार गर्दै समाधानको प्रयत्न गरेकी छु । चाहन्छु, तिमीलाई सम्बोधित यो चिठीमार्फत अरूमा पनि पुगोस् ।
‘बाबा, बूढो भएर आकाशमा गएपछि पनि रक्सी पिउने ?’ यो उत्सुक प्रश्न हो, एक पाँच वर्षीया बालिकाको बालसुलभ विरोधको अबोध झटारो । बालिकाको दिइएको धारणा अथवा उसलाई पिलाइएको ज्ञान हो— मानिस मरेपछि माथि अर्थात् स्वर्ग जान्छ र आकाश नै स्वर्ग हो । हरे बाल मनस्थिति, जे पिलायो त्यही पिउँछ !
यस उद्गारमा अबोध व्यङ्ग्य र याचना दुवै समावेश भएको स्पष्ट छ । एक पिताबाट आशा गरिने माया र सुरक्षाको आभासको आशा गर्दागर्दै मानौं ऊ थाकिसकेकी छ । यसमा व्यङ्ग्य अवश्य छ, कारण उसको पिताको घृणित मदिरा लत उजागर गर्ने आफ्नै तरिकाको सुझबुझ थियो त्यो । व्यङ्ग्यको आवाजमा चेतावनीको रङ पनि बोकेको भान हुन्छ । सम्भवतः आकाश (स्वर्ग) मा मदिरासेवकहरूलाई प्रवेश निषेध होला कि ?
हरेक साँझ मदिरामा धुत्त पिताको ताण्डवनृत्य, गालीगलौज, दोषारोपण, तोडफोडका दृश्यले लाचार भइसकेकी छ ऊ । पिताको विशाल छातीमा मायामिश्रित सुरक्षाको ग्यारेन्टी खोज्ने उमेर हो उसको । तर पिताबाटै सुरक्षाको घात हुँदा विक्षिप्त बालिका भाइको सुरक्षा गर्न साना कोमल हातहरूले अँगाल्छे । साना हत्केलाले आमाको आँसु पुस्छे । ऊ विचलित छे ।
ऊ हरेक बिहान फूलजस्तै झपक्क फुलेकी हुन्छे, हरेक साँझ विस्फारित नेत्रहरूले चारैतिर नियाल्दै, आगामी घटनाको असहज प्रतीक्षामा बेचैन देखिन्छे ऊ । दिन ढल्किँदै जाँदा उसको व्यवहारमा अस्वाभाविक उतार–चढाव महसुस गर्न सकिन्छ । कुनै बेला मातापिता दुवैको उपस्थितिमा हात समातेर उभिने अवसर पाउँदा उसको हाउभाउ नै बेग्लै हुन्छ, आँखामा असीम विश्वास र सन्तोष पाइन्छ— मानौं जो कसैलाई चुनौती दिन सक्छे ।
ऊ त भर्खर मात्रै ‘टुइङ्कल टुइङ्कल लिटल स्टार, बाबा ब्ल्याकसिप ह्याभ यु एनी बुल’ छिचोलेकी बालिका । उसमा छ परिस्थिति मूल्यांकन गर्न सक्ने ज्ञान । उसमा छ पिताले सामना गर्नुपर्ने भवितव्यको परिकल्पना गर्न सक्ने क्षमता । त्यसैले बालिकाका शब्द छ, उसकै मनोदशाको सकारात्मक प्रतिछाया ।
अहिलेदेखि नै यति ठूलो दायित्वको बोझ ! त्यो पनि कहिलेसम्म ? मेरो अन्तरआत्मा तिलमिलाउँछ, सकस अनुभूत गर्छु । केवल एउटै तथ्यसँग अवगत हुन चाहन्छु । त्यो हो— बालिकाको आगामी मानसिक विकास । भय नै भयको यस महासागरमा, प्रतिरक्षाको उपाय खोजिरहनुपर्ने उसको दैनिकीले यस भर्खर प्रस्फुटित कोपिलाको विकासमा अवरोध खडा नगर्ला ? विज्ञ पाठकहरूको सुझाव अपेक्षित छ ।

मनोविज्ञले पोखेका विचार
अत्यधिक मदिरा सेवन गर्ने पुरुषले पहिले आफूले गरेका हिंसात्मक व्यवहार महसुस त गर्छ, तर पुनः कोट्याइएको खण्डमा नकार्छ । लाजको सामना गर्न नसकेकै कारण उसले आफ्ना गल्ती स्विकार्दैन ।
‘म सधैं ठीक छु र मैले गरेको जहिले पनि ठीक हुन्छ,’ यस्तो कुरामा विश्वास गर्नु चरम अहंको नतिजा हो । अझ यसो भनौं, यो हीनभावनाको द्योतक हो । ज्वाला भएर भड्किने यो अहं यथार्थमा कमजोरी हो ।
‘म सधैं ठीक छु’ भन्ने धारणा वास्तवमा ज्ञान–बोधको दिवालियापन हो । यो त यस्तै दुर्बल मनस्थिति भएको मानिसले लिने सुरक्षाकवच हो, जुन आधारभूत हिसाबले कमजोर हुन्छ । यसले जीवनलाई अझ बढी अनियन्त्रित बनाउँछ ।
यस्तो धारणाको प्रतिक्रिया के हुन्छ त ?
उसले अरूको जीवनलाई नियन्त्रण गर्नुपर्छ भन्ने ठान्छ । पुरुष मात्र होइन, कतिपय महिला पनि यस्तो निम्न कोटिको अहंको सिकार भएको भेटिन्छ । यस्ता पुरुष–महिला वास्तवमा कायर र कमजोर हुन्छन्, त्ससैले त अरूलाई शासन गर्छन् र आक्रामक हुन्छन् । आफ्नो मनको असुरक्षाको भावना व्यक्त गर्न विशेषगरी पुरुषहरूले यस्तै तरिका अपनाउँछन् ।
कुनै–कुनै पुरुषले आफ्नै मनोबल र इच्छाशक्तिले यस्ता लत त्यागेर सफल जीवन बिताएका मात्र छैनन्, आफ्ना असल क्रियाकलापले समाजलाई योगदानसमेत पुर्‍याएका छन् । तर बहुसंख्यक पुरुष यसरी नै परिवारलाई समेत मानसिक तथा आर्थिक रसातलमा डुबाएर पतन भएका छन् । कतिपयले घरलाई नै मसानमा परिणत गराएका छन् ।
परिवार सुरक्षाको समाधान के ?
वयस्क पुरुषले परिवारमा सन्तुलित वातावरण दिन सक्नुपर्छ, जसमा परिवारको शान्तिको ग्यारेन्टी मात्र होइन, बालबालिकाको भविष्य निर्माणको जग टिकेको हुन्छ । यद्यपि उसले हिंसा बारम्बार दोहोर्‍याइरहने गर्छ भने परिवारजनले नातागोतालगायत छिमेकको सहयोग लिने गर्नुपर्छ । अथवा संघसंस्था, सरकारी सहयोगसमेतको निम्ति अघि बढ्नुपर्छ । घरभित्रको कुरा भनेर लुकाउन खोजे पीडकले प्रोत्साहन पाउने गर्छ । यसमा अप्ठ्यारो मान्ने प्रश्न नै उठ्दैन किनभने यो विश्वब्यापी समस्या हो, जुन खुला किताबजस्तै छर्लंग छ ।
यति गर्दा पनि पार पाउन सकिएन भने ऊसँग सम्पूर्ण सम्बन्ध तोडिदिनुपर्छ । जबसम्म उसले आफ्नो जीवनलाई नियालेर हेर्दैन, आफूलाई परिवर्तन गर्दैन तबसम्म उसको क्रियाकलापमा परिवर्तनको सम्भावना न्यून रहन्छ । एक पीडकसँग सम्बन्ध तोड्नु शान्ति र सुखपूर्वक जिउन चाहने परिवारको आधारशिला हो । यसलाई पाप होइन, पुण्यकै काम सम्झनुपर्छ । अन्तमा एक सुन्दर अनूदित कविता ः
मसँगै हिँड्नोस्, बाबा
मसँगै हिँड्नोस्, बाबा,

मेरो हात समातेर
मैले धेरै कुरा सिक्नु छ
जुन म अहिले केही बुझ्दिनँ ।

हरेक दिन आइपर्ने खतराबाट
आफैंलाई कसरी सुरक्षित राख्ने, बाबा
घरमा, स्कुलमा अथवा खेल खेल्दा
कसरी सबैभन्दा राम्रो गर्ने, सिकाउनोस् ।

हुर्कंदै गरेका बच्चालाई डोर्‍याउने
मायालु हातहरू चाहिन्छन् नि
त्यसैले त म सँगसँगै हिँड्नोस् न, बाबा
हामीलाई धेरै टाढा जानु छ ।

Page 20
कोसेली

रुपैडिहा हुँदै मरिम ला

हरेक खोला र नदीमाथि झोलुंगे पुल भने छन् । तिनै झोलुंगे पुलबाट सामान बोकेर पारी तर्नेबित्तिकै अर्को बोलेरो गाडी तयार हुन्छ । गाडीको निश्चित भाडा छैन, मान्छे हेरेर भाडा तय हुन्छ ।
- अब्दुल्लाह मियाँ

 

दुई दिन कुर्दा पनि नेपालगन्जबाट जुफाल जहाज उडेन । तेस्रो दिन, दुनैसम्म सडकमार्ग हुँदै जाने निधो गरियो । अन्तिम गन्तव्य माथिल्लो डोल्पाको धो तराप । नेपालको सबभन्दा उच्च स्थानको उक्त बस्ती (४३०० मिटर) मा पहिलोपटक हुन लागेको महोत्सवमा सहभागी हुने हाम्रो उद्देश्य । धो तराप मेरो दोस्रो यात्रा, २०७१ पछि ।
सदरमुकाम दुनै गत वर्षको मंसिर पहिलो सातादेखि सडक सञ्जालले जोडिएको छ । जहाज नउडेपछि स्थानीय र कर्मचारी त्यही सडक भएर दुनै–सुर्खेत–नेपालगन्ज आउजाउ गर्दा रहेछन् । राँझा एअरपोर्टमै से–फोक्सुण्डो निकुञ्जका तत्कालीन निमित्त प्रमुख (वार्डेन) प्रमोद यादवले सुनाए, ‘दुनैसम्म पुग्न १०– १२ वटा गाडी फेर्नुपर्छ, कहीं एक–डेढ किलोमिटरसम्म हिँड्नु पनि पर्छ ।’ सडक यात्रा गर्दा धेरै कुरा अध्ययन गर्न पाइने आशाले गाडी नै रोजियो ।
स्कर्पियोमा कोहलपुर चौराहाबाट रत्न राजमार्गको छिन्चु–जाजरकोट हुँदै अघि बढ्यो टोली । मनसुन अवधि बाँकी नै थियो । जसै जाजरकोट सदरमुकाम खलंगाको कालेगाउँ सकियो, कच्ची बाटो सुरु । दिउँसै पानी पर्न थालिहाल्यो । गडगडाउँदै बगेको धमिलो भेरी नदी तीरैतीर जाजरकोटको रिम्नाबजार पुग्दा झ्याउँकिरी कराउन थाले ।
रिम्ना पुल तरेपछि पश्चिम रुकुमले स्वागत गरिहाल्यो । जाजरकोट–खलंगा–दुनै बाटो कच्ची भए पनि नजिकै फराकिलो मध्यपहाडी लोकमार्ग चौरजहारी–जाजरकोट हुँदै पश्चिमतिर बन्नेक्रम जारी छ । त्यसले ठूलो आशा जगाएको छ । खलंगा–दुनै सडक भने दक्षिणबाट उत्तरतिर गइरहेको छ ।
पहाडको कच्ची बाटोमा मुसलधारे पानी परेपछि स्करपियोको स्पिड घट्ने नै भयो । अनकन्टारमै झिसमिसे भइहाल्यो । गाडीको लाइटले मात्र बाटो ठम्याउन गाह्रो । उकालो ओरालो बाटो । माथि भीमकाय पहिरो । ढुंगा झर्ने उत्तिकै त्रास । न मोबाइल नेटवर्क न मानव बस्ती । केवल सलल...बगिरहेको भेरी । कहिले धकेल्दै त कहिले यात्रु झार्दै चालकले बल्लतल्ल पुर्‍याए, आठबिसकोट नगरपालिकाको राडीबजार ।
भेरी नदीको बगरमै बजार भए पनि अबेरसम्म होटल, पसल खुलेका । मान्छेको चहलपहल पनि उत्तिकै । नगरपालिकाको केन्द्र । सदरमुकाम मुसिकोट आउजाउ गर्ने र राडीबजारबाट सुर्खेत, नेपालगन्ज, काठमाडौंसम्मै रात्रि र दिवा बससमेत चल्ने भएकाले मान्छेको बाक्लै उपस्थिति । सामान पनि लगभग सबै पाइने ।
बजारका चलेका सबै होटल भरिभराउ । स्थानीय भन्दै थिए, ‘नगरपालिका आयापछि धेरै तालिम, कार्यक्रम हुन थाले, त्यही भएर सबै होटल प्याक भइगए ।’ जाजरकोटे दाइको सानो होटलमा जसोतसो गरी रात बिताइयो । मिर्मिरेमै ब्युँझिएका कान्तिपुर टीभीका डीपी सुताइबारे बेलिबिस्तार लाउँदै थिए, ‘उडुसको ओछ्यान, उपियाँको सिरक भयो है साथी हो ।’
प्रमोद यादवले राँझामा भनेजस्तै अब गाडी बदल्दै अघि बढ्ने यात्रा सुरु हुने भयो । जाजरकोट र पश्चिम रुकुमलाई कहिले दायाँ कहिले बायाँ पार्दै, भीरपाखा छिचोल्दै भेरी नदीको तीरैतीर उकालो, ओरालो गर्दै यात्रा अघि बढ्यो । थोरैबेर गाडी चढ्यो, झर्‍यो, झोलुंगे पुल तर्‍यो, फेरि गाडी चढ्यो, ओर्लियो, झोलुंगे पुल तर्‍यो...एवं रीतले ।
नेपाली सेनाको करिब दशक लामो प्रयासले दुनै जोड्ने ट्र्याक खुलेको हो । जाजरकोटको पासागाढबाट डोल्पा सदरमुकाम दुनैसम्म १ सय १८ किलोमिटर सडकको ट्र्याक खोलिएको छ । त्यही ट्र्याकमा झन्डै सयवटा बोलेरो, केही जिप र ट्याक्टर दैनिक अनवरत गुडिरन्छन् । पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरी–सुपानीसम्म १ सय ३ किलोमिटर सेनाले तथा सुपानीदेखि दुनैसम्मको १४ किमि स्थानीय तह र सांसद विकास कोषमार्फत् निर्माण गरिएको हो ।
जाजरकोट–दुनै सडक (११८ किमि) को ४७.५ किमि जाजरकोटमा, ३०.५ किमि रुकुममा र ४०.५ किमि डोल्पामा पर्छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये अब हुम्लामा मात्र सडक सञ्जालले छुन बाँकी छ । त्यहाँ पनि जुम्ला, बाजुराबाट सडक निर्माण जारी छ । उत्तरी नाका हिल्सातिरबाट पनि सडक बनिरहेको छ ।
२०६४ सालमा छिन्चु–जाजरकोट सडक निर्माण भएसँगै डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न ट्र्याक खोल्ने काम सुरु भएको थियो । मुलुककै ठूलो जिल्ला डोल्पामा सडक सञ्जालले छुनु स्वागतयोग्य भए पनि भेरी, सहायक नदी र खोलाहरूमा मोटरेबल पुल बनेका छैनन् । त्यसैले दर्जन गाडी फेरेर मात्र दुनै–खलंगा–सुर्खेत–नेपालगन्ज–दुनै यात्रा सम्भव छ । सहज यातायातका लागि कम्तीमा पनि १४ वटा पुल बनाउनुपर्ने हुन्छ । हिउँदमा पानीको बहाब घट्ने र खोला सुक्ने भएकाले केही सहज भए पनि वर्षाको यात्रा कष्टकर मात्र होइन उत्तिकै जोखिमपूर्ण छ ।
वर्षामा पानी बढेकाले साना खोला पनि गडगडाएका छन् । ठूला र अग्ला पहाडलाई छिचोलेर सानो ट्र्याक खनिएकाले दुर्घटनाको पनि त्यत्तिकै त्रास । पहिरोले कैयौं ठाउँमा सडक बगाएको छ । कैयौं ठाउँमा ट्र्याक पुरिएको छ । सडकको नाम निसान छैन । ठूला गाडीको यात्रा कल्पनै गर्न सकिन्न । एक्लै पनि सम्भव छैन ।
धन्न हरेक खोला र नदीमाथि झोलुंगे पुल भने छन् । तिनै झोलुंगे पुलबाट माल सामान बोकेर पारी तर्नेबित्तिकै अर्को बोलेरो गाडी तयार हुन्छ । बोलेरोको निश्चित भाडा छैन । मान्छे हेरेर भाडा तय गरिन्छ । ड्राइभर सबै लोकल । ओठ निचोर्दा दुध झर्ने उमेरका । केही दिन सहचालक बनेपछि स्वतः ड्राभइरमा बढुवा ।
राडीबजारदेखि दुनैसम्म चल्ने रुटका अधिकांश बोलेरोका ड्राइभरसँग लाइसेन्स छैन । न त लाइसेन्स लिने उमेर नै उनीहरूको पुगेको छ । तिनले भन्न छुटाउँदैनन्, ‘दाइ पीर नगर्नुस् है गाडी चला’को एक वर्ष भयो, यो वर्ष सुर्खेतबाट लाइसेन्स बनार ल्याउँछु ।’ विश्वास नलागे पनि चढ्नुको विकल्प छैन । भरोसा, अल्लाह (ईश्वर) को भन्दै अघि बढियो ।
राडीबजारबाट डिल्ली, मैदे, तात्राघाट, चौखा, तल्लु, रिजगाड, दामाचौर, कडापहाड, हरियापानी, खदाङ, चौगाड, छलगाड, गलीगाड र त्रिपुरासुन्दरी बगर हुँदै सडक दुनैसम्म पुग्छ । यी सबै ठाउँमा पोका पन्तुरासहित झोलुंगे पुल तरेर अर्को गाडी चढ्नु अनिवार्य छ । पुल तार्ने भरिया त भेटिन्छन्, साह्रै महँगा ।
जाजरकोट खण्डको तल्लु, रातोपहरा, रग्दा भगवती, रुकुमको ढाडछाला, मन्का तथा डोल्पाको करवाड, खदाङ, सिरबिन्डे, सिउरेनी, तपतपे, धाउन्ने, बतासेलगायतका स्थानमा भीर काटेर खोलिएका ट्र्याक । यस्तै कहालिलाग्दो भीरमा बेपत्ता कुद्ने बोलेरो कतिबेला जमिन छोडेर भेरी नदीमा पुग्छ
पत्तो हुँदैन ।
भीरबाट ढुंगा झरिरहुन्् वा गाडी फसेर उकालो चढ्न नसकोस् । ड्राइभरले न स्टेरिङ छाड्छन्, न त यात्रु नै झार्छन् । उज्यालो होस् वा अँध्यारो, गन्तव्यमा नपुगेसम्म गाडी रोकिने वाला छैन । उनीहरूको एउटै मन्त्र छ, ‘गाडी पुग्ने ठाउँसम्म जसरी पनि पुर्‍याएरै छाड्ने ।’ यात्रुलाई कहाली लागे पनि ड्राइभरले
हाई–वे ठानेर मस्तले गाडी गुडाउँछन् । सँगै चर्को स्वरमा म्युजिक ।

नेपाली सेनाले खनेको बाटो भए पनि वातावरणीय पक्षमा फिटिक्कै ध्यान दिइएको छैन । कर्णालीको भूगोल, अग्ला पहाड हुने नै भए । घरभन्दा ठूला ढुंगा । पत्थरिलो माटो । त्यस्तो भू–बनोटमा जथाभावी खनिएको सडकले विकराल अवस्था निम्त्याउने देखिन्छ । मुख्यतः जहींतहीं पहिरोको जोखिम । न त पहिरो रोक्ने कुनै विधि नै अपनाइएको छ । भूगोलविद् नरेन्द्र खनालका अनुसार बढी चट्टान भएको क्षेत्रमा चट्टानी पहिरो (रक फल) को सम्भावना अत्यधिक हुन्छ । उनी भन्छन्, ‘बढी स्लोप भएको क्षेत्रमा सडक दुर्घटनाको संभावना बढी हुने भएकाले पहिले नै ध्यान दिनुपर्ने हुन्छ’ ।
यो सडकलाई भेरी करिडोरमा समेटेर छिमेकी मुलुक भारत र चीनसँग जोड्ने केन्द्र सरकारको योजना छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको मरिम ला नाकाबाट तिन्जे, धो तराप हुँदै दुनै र दुनैबाट त्रिपुराकोट, त्रिवेणी, जाजरकोट, छिन्चु हुँदै नेपालगन्जबाट भारतको रुपैडिहा जोड्ने योजना छ । दुनैसम्म सडक पुगे पनि त्योभन्दा माथि पदयात्राका लागि खनिएको बाटो मात्र छ ।
दुनै बजारबाट माथिल्लो डोल्पा पुग्न तीन दिनको पैदल यात्रा गर्नुपर्छ । दुनै–धो तराप–शे गुम्बा–साल्दाङ–फोक्सुण्डो–दुनै पदयात्रा विख्यात छ । माथिल्लो डोल्पामा तीनवटा गाउँपालिका छन्– बुद्ध डोल्पो, शे–फोक्सुण्डो र छर्का ताङ्सोक । डोल्पो बुद्ध गाउँपालिकाको तिन्जेसँग तिब्बतको मरिम ला जोडिन्छ भने शे–फोक्सुण्डोको साल्दाङसँग क्याटो जोडिन्छ । यी दुई नाका माथिल्लो डोल्पाका करिब चार हजार जनसंख्याको ‘लाइफलाइन’ हुन् । यी नाका औपचारिक रूपमै खोलिए र उत्तर–दक्षिण सडक सञ्जाल जोड्न सकिए जनजीवन सहज हुने देखिन्छ ।
दक्षिणतिर सडक नजोडिएकाले दैनिक आवश्यक पर्ने खाद्यान्न खरिद गर्न र यार्चागुन्बुलगायतका जडिबुटी बिक्री गर्न स्थानीयहरू तिब्बती नाका मरिम ला र क्याटो ओहोरदोहोर गर्न बाध्य छन् । मरिम ला–रुपैडिहा उत्तर–दक्षिण सडक जोडिए डोल्पो क्षेत्रको पर्यटन प्रवर्द्धन मात्र हुने छैन, उत्तरी क्षेत्रका यार्चागुन्बुजस्ता बहुमूल्य जडिबुटी, गेडागुडी र तल्लो क्षेत्रका अर्ग्यानिक स्याउ र ओखरलगायत उत्पादनले बजार पाउनेछ । त्यसले उनीहरूको जीवनस्तर सुधार्न सहयोग पुर्‍याउनेछ । सडक अभावले माथिल्लो डोल्पाका स्थानीय आपत्कालीन अवस्थाबाहेक तलतिर झर्दैनन् भने तल्लो क्षेत्रका बासिन्दा
माथि जाँदैनन् ।
हजारौं वर्ष पुराना गुम्बाहरू शे, साम्लिङ बोन, याङ्जेर, झ्याम्बा पर्यटकीय आकर्षण हुन् । अलग्गै तिब्बती भेषभूषा, भाषा, कला, संस्कृति, जीवनशैली र डोल्पो जाति अर्को आकर्षण हो । यहाँको ‘ल्यान्डिस्केप’ मान्छेलाई लोभ्याउने किसिमको छ ।
३६ वर्षअघि निकुञ्ज स्थापना भए पनि स्थानीयबासीलाई लाभ हुने किसिमका कार्यक्रममा ध्यान दिएको देखिन्न । उपयुक्त अवसर नपाएकाले स्थानीयले आफ्नै ठाउँलाई प्रचार गर्न सकेका छैनन् । छिमेकी मुस्ताङमा आन्तरिक–बाह्य पर्यटक ओइरिरहेका बेला उस्तै परिदृश्य बोकेको माथिल्लो डोल्पा आउनेहरू नगण्य मात्र छन् । डोल्पोबुद्ध गाउँपालिका–३ का वडाअध्यक्ष क्याल्पो थापा भोटे केही वर्षयता विदेशी पर्यटक भने आकर्षित भइरहेको सुनाउँछन् । उनले पर्यटन प्रवर्द्धनमा भौतिक पूर्वाधार नै मुख्य अभाव भएको तर्क गरे ।
डोल्पाका सांसद पर्यटन राज्यमन्त्री धनबहादुर बूढा दुनैसम्म सडक पुर्‍याउने आफ्नो एक मात्र सपना भएको स्थानीयलाई भन्दै थिए । ‘तिन्जेबाट धो–दुनै हुँदै जाजरकोटसम्म सडक जोड्न सकियो भने आमूल परिवर्तन आउने विश्वास छ,’ उनले भने । नाकाबाट दुनैसम्मको लम्बाइ १ सय १० किलोमिटर छ । दुनैबाट रुपैडिहासम्म करिब ३ सय ९ किलोमिटर छ । धोबाट दुनै सडक पुर्‍याउन सकिए चीन–भारत नाका उत्तर–दक्षिण नाका जोडिनेछ । ढिलै भए पनि धो तरापबाट दुनैसम्मको पदमार्गलाई स्तरोन्नति गर्ने काम चलिरहेको छ । स्तरोन्नतिपछि मोटरसाइकल चलाउन सहज हुनेछ । दुईवटा डोजरले तिन्जेबाट ताक्सी, धो, कलाङ, सिस्योल, नाउरपानी, लहिनी, लासिक्याप हुँदै दुनैतिर सडक खनिरहेका छन् ।
नेपाल सरकारले पनि यो सडकलाई प्राथमिकतामा राखेको छ । भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र सडक विभागका अधिकारीले स्थलगत अध्ययन गरेका छन् । कर्णाली प्रदेशको योजना आयोगले पनि ‘दुनै–धो हुँदै मरिम ला, सुर्खेत–हुम्ला हुँदै हिल्सा र दैलेख–कालीकोट–जुम्ला–मुगु हुँदै नाक्चे’ गरी तीनवटा नाकाबाट उत्तर–दक्षिण करिडोर जोड्ने योजना बनाएको छ । खोलिएका ट्र्याकलाई स्तरोन्नति गर्ने र खन्न बाँकी सडकलाई उच्च प्राथमिकता दिने हो भने ढिलोचाँडो माथिल्लो डोल्पाको हीरा बेच्न सम्भव छ । र सम्भव छ, मरिम ला–रुपैडिहा ओहोरदोहोर ।
twitter@gorkhalimuslim

कोसेली

हिमालको नयाँ 'हिरो'

लाहुरे जीवन त्यागेर पर्वतारोहणमा होमिएका म्याग्दीका निर्मल पुर्जा ६ महिना ६ दिनमा ८ हजार मिटरभन्दा अग्ला सबै (१४) हिमाल आरोण गरी रेकर्ड बनाएर विश्वमै चर्चित बनेका छन् । पहिलाको झन्डै आठ वर्षको रेकर्डलाई सात महिनामा छोट्याएका उनको यो कस्तो सफलता हो त ?
- राजु घिसिङ

अन्नपूर्ण क्षेत्रले पदयात्रामा विश्वलाई नै मन्त्रमुग्ध पार्दछ । अन्नपूर्ण बेस क्याम्प (एबीसी) बाट ३६० डिग्रीको कोणमा देखिने हिमालहरू साह्रै लोभलाग्दा छन् । एबीसीबाट सामुन्ने देखिने त्यही हिमालहरू छिचोल्दै शिखरमा पाइला राख्न भने अत्यन्तै खतरनाक हुन्छ । यस क्षेत्रमा अक्टोबर २०१४ को हिमपात र हिमपहिरोमा पदयात्री र आरोही गरी ४३ जनाले ज्यान गुमाएका थिए । करिब ५० जना बेपत्ता भएका थिए । ५ सय बढीको उद्धार गरिएको थियो ।
माउरिस हर्जोग नेतृत्वको फ्रान्सेली टिमले ८,०९१ मिटर अग्लो अन्नपूर्ण सन् १९५० मा चढेको थियो । ८ हजार मिटर अग्ला हिमालको पहिलो सफल आरोण त्यो नै हो । त्यसको तीन वर्षपछि मात्रै तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला राखेका थिए । अन्नपूर्णको आरोहणलाई मृत्युसँग पनि दाँजिन्छ । इतिहासले त्यस्तै देखाउँछ । अन्नपूर्ण आरोहणमा हर्जोगसहित १९१ जनाले सफलता पाएका छन् । आरोहणको प्रयासमा ६१ जनाले ज्यान गुमाए । यो हिमालबाट १ सय जना आरोही फर्किंदा औसत ३४ जनाको उतै श्वास रोकिएको तथ्यांक छ । त्यसैले अग्ला हिमालको सूचीमा दसौं नम्बरमा रहे पनि अन्नपूर्णलाई आरोहणका लागि सबभन्दा
खतनाक मानिन्छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३, दानामा जन्मिएर चितवनको रत्ननगरमा हुर्किएका निर्मल पुर्जा मगरले २०१७ मा १० घन्टा १५ मिनेटभित्रै सगरमाथा र ल्होत्सेको आरोहण गरे । त्यसको पाँच दिनभित्रै मकालु चढ्दा पनि थकान महसुस गरेनन् । त्यसैले उनले एउटा निक्कै महत्त्वाकांक्षी सपना देखे, ८ हजार मिटर अग्ला सबै (१४) हिमाल आरोहण गर्ने । त्यो पनि ७ महिनाभित्रै । आठ हजार अग्ला सबै हिमाल चढ्ने पहिलो व्यक्ति इटालियन पर्वतारोही रेनोल्ड मेसनर हुन् । अक्सिजनबिना निस्किएका उनले १६ वर्ष लगाएर त्यो अभियान १९८६ मा पूरा गरेका थिए । त्यसको अर्को वर्ष पोल्यान्डका जर्जी कुकुज्का पनि ‘एट थाउजन्डर्स’ बने । अक्सिजन सिलिन्डर उपयोग गरेका उनले ७ वर्ष ११ महिना १४ दिन लगाए । दक्षिण कोरियाली किम चाङ—होले उनको रेकर्डलाई ७ वर्ष १० महिना ६ दिनमा छोट्याइदिए २०१३ मा । उनले पनि मेसनरलेजस्तै आरोहणको बेला अक्सिजन लिएनन् । त्यसैले पुर्जाको योजना बन्यो कुकुज्काको रेकर्ड तोड्ने ।
बेलायती सेनाको नेपाली पल्टन (ब्रिगेड अफ गोर्खाज) मा २००३ मा भर्ती भएका पुर्जाले गत वर्ष आफ्नो महत्त्वाकांक्षी सपनालाई योजनामा बदले । युद्धको मोर्चामा होमिएको सैनिकभन्दा हिमालतिर उक्लिने पाइलामा बढी साहस र बहादुरी ठान्न थाले । सानैदेखिको लाहुरे हुने सपना साकार भएपछि कमब्याट छोड्न पनि तयार भए । ब्रिटिस स्पेसल फोर्सअन्तर्गत स्पेसल बोट सर्भिस (एसबीएस) सम्म पुगेका उनले आफ्नो अभियानको नाम दिए, प्रोजेक्ट पोसिबल । प्रायोजन र सहयोग जुटाए । गोफन्डमीमा दर्ता गरे । ७ लाख ५० हजार पाउन्ड जुटाउन असम्भव देखियो । खर्चै नपुग्ने भयो । लाहुरको कमाइले जोडेको बेलायतको घर बेचे । र, स्वदेश फर्केर अभियान थाले त्यही खतरनाक अन्नपूर्णबाट । २३ अप्रिल २०१९ मा शिखर चुमे ।
अन्नपूर्णको आरोहण सोचेजस्तो कठिन नभएको पुर्जाले बताए । त्यसले उनलाई आत्मविश्वासी बनाइदियो । उनी पहिलादेखि नै आफ्नो क्षमतामा विश्वस्त गर्थे । आफ्नो अभियानबारे भनेका पनि थिए, ‘म कुनै रेकर्ड बनाउन आरोहण गरिरहेको होइन, मानवको क्षमता देखाउन चाहन्छु । मेरो प्रतिस्पर्धा मसँगै हो । म्याग्दीको सानो गाउँमा जन्मेको थिएँ । म यो सावित गर्न चाहन्छु कि पृष्ठभूमिले कुनै फरक पार्दैन । सोचाइ सही छ भने, असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ । धैर्य र एकाग्रता भयो भने सबै कुरा सम्भव हुन्छ ।’ आफ्नो अभियानबाट तीन कुरा देखाउन चाहेको उनले प्रस्टै भनेका थिए– मानवीय क्षमता, पर्यावरणीय परिवर्तन (क्लाइमपेट चेन्ज) र नेपालको पर्यटनको प्रवर्द्धन ।
आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमा, ५ वटा पाकिस्तान र एउटा चीनमा छन् । पुर्जाले पहिलो चरण (२३ अप्रिलदेखि २४ मे) मा नेपालका अन्नपूर्ण (८,०९१ मि.), धौलागिरि (८,१६७ मि.), कञ्चनजंगा (८,५८६ मि.), सगरमाथा (८,८४८ मि.), ल्होत्से (८,५१६ मि.) र मकालु (८,४८१ मि.) एक महिनामै आरोहण गरे । दोस्रो चरण (६—२६ जुलाई) मा पाकिस्तानका नांगा पर्वत (८,१२५ मि.), गासेरब्रम पहिलो (८,०८० मि.), गासेरब्रम दोस्रो (८,०३५ मि.), के टु (८,६१४ मि.), ब्रोड पिक (८,०५१ मि.) चढे ।


स्वदेश फर्केर तेस्रो चरणको यात्रा २३ सेप्टेम्बरमा चो यू (८,१८८ मि.) बाट थाले । चार दिनपछि मनास्लु (८,१६३ मि.) मनास्लु चढे । आठ हजारमध्येका सबभन्दा होचो सिसापाङ्मा (८,०२७ मि.) तिब्बतमा पर्छ । तर, यसको आरोहणमा चिनियाँ सरकारले यो सिजनलाई बन्द गरिदियो । उनी स्पेसल फोर्समा हुँदा सोसल मिडिया चलाउन बन्देज थियो । पुर्जाले विशेष स्वीकृतिका लागि ट्वीटर, इन्स्टाग्राम, फेसबुकमा खुबै लेखे, बोले । हारगुहार गरे । धेरैले आवाज उठाए । त्यही बेला चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगे । नेपाल सरकारको पहलमा चीनले चिनफिङ आएको दुई दिनपछि ‘स्पेसल परमिट’ दियो । उनी तिब्बत हानिए । अन्तत ः मंगलबार (२९ अक्टोबर) बिहान सिसापाङ्माको शिखरमा पाइला टेक्दै ६ महिना ६ दिनमा आठ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण पूरा गरेर रेकर्ड आफ्नो नाममा बनाए । योजना सात महिनाकै भए पनि सिसापाङ्माको परमिट चाँडै पाएको भए उनले यो समय अझै छोट्याउन सक्थे ।
उनी तिब्बतबाट बुधबार स्वदेश फर्किए । तर, सिसापाङ्माबाट ओर्लिनसक्दै यी ३६ वर्षीय आरोहीको सफलताको खबरलाई विश्वकै चर्चित मिडियाहरूले भाइरल बनाइसकेका थिए । हुन त उनले ‘प्रोजेक्ट पोसिबल’ मा हिमालतिर लाग्नुअघि नै बीबीसी, स्काई न्युज, सीएनएन, एबीसी, एएफपी, एपी, रोयटर्सलगायत चर्चित मिडियालाई अन्तरवार्ता दिइसकेका थिए । त्यसअघि उनी अपरिचित नै थिए । पहिचान थियो त केबल लाहुरेको । उनी अहिले राजधानी फर्कंदा सेलिब्रेटी भइसकेका छन् । विश्वले उनलाई मोटिभेसनल स्पिकर देख्न थालिसकेका छन् । उनले भने अर्को सपना देखिसकेका छन्, के टु विन्टरमा चढ्ने । सगरमाथापछिको अग्लो हिमाल के टु विन्टरमा अहिलेसम्म कसैले आरोहण गरेका छैनन् ।

ॅनो न्युज इज गुड न्युज’
शारीरिक रूपमा निर्मल निक्कै बलिया छन् । यसमा लाहुर भर्ती र ब्रिटिस स्पेसल फोर्सको योगदान मान्छन् उनी । आँटिला भएर पनि हुन सक्छ, उनलाई धेरैले घमण्डी भन्छन् । आँटेको कुरा पूरा गर्ने हिम्मत उनमा छ ।
पर्वतारोहण नसाजस्तै मान्नुपर्छ । ज्यानको जोखिम भएको थाहा पाएर पनि पर्वतारोहीहरू हिमालतिरै पाइला चालिरहन्छन् । कीर्तिमानीहरू कुकुज्का ल्होत्सेमा १९८९ मा बिते । किमले अन्तिम श्वास गत वर्षमात्रै अन्नपूर्णको छिमेकी हिमाल गुर्जमै फेरेका थिए । त्यसैले एक अन्तरवार्तामा पुर्जाकी पत्नी सूचीले आफ्नो पतिलाई हिमालतिर उक्लिँदा कसरी पर्खने भन्ने प्रश्नको जवाफ दिएकी छन्, ‘नो न्युज इज गुड न्युज ।’ सूची उतै (बेलायत) बस्छिन् ।
निर्मल पुर्जाको अनुहार बेर्दा र बोली सुन्दा लाग्छ, सबै निश्चित छ, कुनै शंका वा डर छैन । तर, जस्तोसुकै रेकर्ड बनाए पनि उनी मानवीय गुण भएका व्यक्ति नै हुन् । परिवारबारे निर्मलले भनेका छन्, ‘सन्तानको योजना बनाएका छैनौं किनकि हिमालमा जति खेर जे पनि हुन सक्छ ।’ हिमालमा देखिने प्रकृतिअघि
आफ्नो समस्या समस्या नै होइनजस्तो लाग्छ उनलाई । ‘हिमपहिरो आयो भने कसैले बचाउन सक्दैन,’ उनले भनेका छन्, ‘आफूले सही निर्णय गर्नसक्नुपर्छ ।’ उनले दुईपल्ट हिमपहिरोको सम्भावना भएपछि आरोहण त्यागेका पनि छन् ।
‘निम्स दाइ’ को रूपले चर्चित उनी जिद्दी स्वभावका छन् । त्यसैले त प्रतिघन्टा ७५ किलोमिटरको औसतमा हुरी चलिरहँदा पनि लगातार १५ घन्टासम्म हिमाल उक्लिरहेका थिए । भारतीय सेनाका रिटायर्ड पूर्णबहादुर मगरका पाँच सन्तानमध्ये कान्छो उनी असम्भवलाई सम्भव पार्न चाहन्छन् । दुई दाजुको पथ पछ्याउँदै बेलायती लाहुरे बनेका उनलाई गुरुजी (कमान्डर) ले स्पेसल फोर्समा ‘जान सक्दैन’ भनेको अहिले पनि ताजै छ । गुरुजीले भन्थे— दिमाग हुनुपर्छ । उनले त्यसलाई पोजिटिभ इगोको रूपमा लिए । गोर्खा पल्टनको २ सय वर्षको इतिहासमा स्पेसल बोट सर्भिस (एसबीएस) मा आबद्ध हुने पहिलो नेपाली भएर आफूमा सम्भावना नदेखेका गुरुजीलाई गलत सावित गरिदिए ।
स्पेसल फोर्समा रहँदा उनले चिसो मौसममा पनि युद्ध गर्ने सैन्य तालिम लिएका थिए । उनी ७ वर्षअघि खुम्बु क्षेत्रको लोबुचे (६,११९ मि.) पुगेका थिए । त्यो नै उनको पहिलो हिमाली यात्रा हो । अनि पर्वतारोहरणको हुटहुटी बढ्यो । आठ हजार मिटर अग्लो पहिलो हिमालको रूपमा धौलागिरि चढे २०१४ मा । दुई वर्षपछि विश्वकै सर्वोच्च शिखर सगरमाथामा २०१६ मा पाइला टेके । युद्धग्रस्त अफगानिस्तानको ड्युटीमा फर्कनुअघि उनी घर बेचेको पैसामा पत्नीलाई मात्रै थाह दिएर सुटुक्कै खुम्बु पुगेका थिए ।
उनले गोर्खा भर्तीको २०० वर्षर् पुगेको अवसरमा सन् २०१७ मा १३ सैनिक आबद्ध ‘गोर्खा एक्सिपिडिसन’ को नेतृत्व नै गरे । उनले सफल नेतृत्व मात्रै गरेनन्, आफैंलाई बचाउन मुस्किल रहेको डेथ जोनमा ज्यान जोखिममा राख्दै ८,४०० मिटरबाट भारतीय एक महिलाको उद्धार पनि गरे । त्यसैले उनले बेलायतको प्रतिष्ठित अवार्ड एमबीई (मेम्बर अफ द अर्डर अफ द ब्रिटिस इम्पायर) महारानी एलिजाबेथ द्वितीयबाट पाए । त्यसपछि उनको नाम थपियो निर्मल पुर्जा एमबीई ।
‘प्रोजेक्ट पोसिबल’ को पहिलो यात्रामै उनले अन्नपूर्ण आरोहण गर्नुबाहेक अर्को मन जित्ने काम पनि गरे, मलेसियन चिकित्सक आरोही चीन वुई—किनको उद्धार । लगातार ४० घन्टासम्म खाना र अक्सिजनबिना फसेका किनलाई उद्धार गरी काठमाडौं पठाइएको थियो । उपचारका क्रममा सिंगापुर फर्के पनि किनको ज्यान जोगिएन । पैसा होइन, ज्ञान दिएर सहयोग गर्नुपर्छ भन्ने उनले कञ्चनजंगामा आफ्नै अक्सिजन दिएर अर्को आरोहीको उद्धार गरी आफ्नो ज्यानलाई जोखिममा राखेका थिए ।

‘राम्रो टिम’
पर्वतारोहण एउटा टिम–वर्क पनि हो । निर्मललाई ‘प्रोजेक्ट पोसिबल’ मा राम्रो टिमको साथ रह्यो । ‘निर्मलका लागि एउटा हिमालमा एउटा टिमको व्यवस्था गरिएको थियो,’ प्रोजेक्ट पोसिबलको व्यवस्थापन गरेको सेभेन समिटका मिङ्मा शेर्पाले भने, ‘टिम वर्क राम्रो भयो । उनको स्वास्थ्यले पनि साथ दियो ।’ मिङमा आफैं आठ हजार अग्ला सबै हिमाल चढ्ने पहिलो नेपाली हुन् । उनले त्यो उपलब्धि ११ वर्ष लगाएर २०११ मा पूरा गरेका थिए ।
‘पहिला हिमालमा काम गर्ने जनशक्ति थिएन । एउटै हिमाल चढ्न दुई महिना लाग्थ्यो । निर्मलका लागि हामीले सबै व्यवस्था मिलाएका थियौं । हरेक हिमालमा निर्मल पुग्दा सबै तयार भइसकेको हुन्थ्यो । उनको काम जाने र चढ्ने भयो,’ मिङ्माले भने, ‘निर्मलको सफलता विश्व पर्वतारोहणकै लागि अत्यन्तै ठूलो उपलब्धि हो । नेपालको पर्वतारोहरण र पर्यटनका लागि कोसेढुंगा । यसले हिमाल चढ्दा मरिहाल्छ भन्ने सोचलाई परिवर्तन गर्छजस्तो लाग्छ ।’ रेकर्डबारे उनले भने, ‘पहिला पनि निर्मलजस्तै आरोही नआएका होइनन् तर हामीसँग व्यवस्थापन गर्न सक्ने हैसियत थिएनौं । अब कोही ५ महिनामै चढ्छु भनेर आयो भने व्यवस्थापन गर्न सक्ने भएका छौं, सक्ने नसक्ने भन्ने उसैमा भर पर्ने कुरा हो । निर्मलको रेकर्ड तोड्न चाहनेका लागि बाटो खुला भएको छ ।’
पर्वतारोहरणको कीर्तिमानहरूमा आ–आफ्नै दाबी छ । सत्य आफ्नै ठाउँमा होला । निर्मल पुर्जाको टिममा मिङ्मा डेबिड शेर्पा, गेसमान तामाङ, ग्याल्जेन शेर्पा, लाक्पा डेन्डी शेर्पा र हेलुङ दोर्जी शेर्पा थिए । उनीहरू अनुभवी र कुशल मानिन्छन् । मिङ्माका अनुसार प्रोजेक्ट पोसिबलमा नौ हिमालको आरोहणसँगै मिङ्मा डेबिड शेर्पा सबभन्दा कान्छो एट थाउजन्डर्स भएका छन् । यससँगै एट थाउजन्डर्स नेपाली आरोही ५ जना पुगेका छन्, मिङ्मा, उनका भाइ छाङ दावा शेर्पा, सानु शेर्पा, निर्मल पुर्जा र मिङमा डेबिड । मिङ्माका अनुसार विश्वमा एट थाउजन्डर्स ४४ जना भएका छन् ।
सन् १९८० को दशकमा हिमाल चढ्दा आफैं बाटो बनाउनुपर्ने अवस्था थियो । नब्बेको दशकमा केही सहज भयो । २१ औं शताब्दीको प्रारम्भसँगै पहिलै तय भइसकेको बाटो र बिछ्याइएको डोरीलाई पछ्याउने आरोही चुलिए । त्यसैले निर्मलले सगमाथामा खिचेको ट्रफिक जामको फोटो विश्वमै भाइरल भयो । जोर्जीले रेकर्ड यात्रामा नयाँ नौवटा बाटो पत्ता लगाएका थिए । उनलाई मेसनरलेसमेत ‘दोस्रो होइन, महान्’ आरोही भनेका थिए । त्यसैले हुन सक्छ, पोल्यान्डका पर्वतारोहीहरूले निर्मल पुर्जाको सात महिनाको सफलतालाई ठूलो उपलब्धिभन्दा पनि रेकर्डका लागि रेकर्ड मात्रै भएको प्रतिक्रिया दिएका छन् ।
उनले सात महिनाभित्र आठ हजार अग्ला सबै हिमाल चढ्ने घोषणा गर्दा सबैले शंका गरेका थिए । असम्भव भनेका थिए । उनकै क्षमतालाई लिएर विश्वास गरिएको थिएन । तर, उनले सात महिनामै असम्भवका ती पहाडहरूलाई भत्काएर सम्भव बनाइदिए । आठ हजार मिटर अग्ला १४ हिमाल सबभन्दा चाँडै चढ्ने रेकर्ड त बनाए नै । त्यस क्रममा आरोहणकै अरू ६ रेकर्ड पनि कायम गरे । तीन वटा गिनिज वर्ल्ड रेकर्ड बनाए । नेपाल पर्यटन वर्ष २०२० अघि उनको सफलतालाई ठूलो उपलब्धिको रूपमा लिइएको छ ।
Twitter: @rghising

कोसेली

महिनावारीले घर छोड्नु पर्दा...

- मञ्जु भट्ट

 

पोहोर सालजस्तै यसपालि पनि चार दिनको कठिन यात्रापश्चात काठमाडौंबाट अछामको जामा फल्टाणे पुगियो । यो चार दिनको गाडी यात्रा यत्तिधेरै अप्ठेरो र पीडादायी हुन्छ कि वर्णन गरिसाध्य छैन । आर्मीकै सोर्सफोर्स लगाएर पाँचचोटि बसपार्क धाएपछि पाएको टिकट अमेरिकाको डीभी परेभन्दा पनि महत्त्वपूर्ण थियो
हाम्रा लागि ।
काठमाडौंबाट धनगढीका लागि छुटेको सुपर डिलक्स गाडीमा एसीको सुविधासँगै टेलिभिजन पनि थियो । फोहोर फाल्न गाडीभित्रै डस्टबिनहरू राखिएका थिए । मोबाइल चार्ज गर्ने सुविधा थियो । फराकिला फोल्डिङ सिटहरू सजिला थिए । उल्टी आयो भने प्रयोग गर्नु भन्दै सिटसिटमा प्लास्टिकहरू राखिएका थिए । पानी पिउन प्रत्येक यात्रुलाई बोतलहरू बाँडिएका थिए ।
लम्कीबाट अछामतिर जाने गाडीमा भने झ्यालबाट उल्टी गरेर पूरै गाडीभित्र गन्हाइरहेको थियो । भुइँमा बसेका यात्रुको शरीर तथा सामानमै दसैंका लागि लगिएका बोका तथा खसीहरूले दिसापिसाब गरिरहेका थिए । आफ्ना लागि भने सामान तथा लोकल यात्रुहरू राख्न र ओराल्न जतिखेर पनि रोकिने गाडीमा साना केटाकेटीहरूलाई शौच आउँदा पनि रोकिएको थिएन । धेरैचोटि बच्चाहरूलाई बोतल र प्लास्टिकमा पिसाब गराएर झ्यालबाट बाहिर फालियो । थोत्रा गाडीमा टुटेफुटेका बांगिएका साँघुरा दुईजनाको सिटमा तीन जनासँगै बच्चालाई काखमा राखेर यात्रा गर्नु कष्टकर थियो । हावा पनि छिर्न नसक्ने छिनछिनमा रोक्दै गुडिरहेको गाडीमा २४ घण्टाभन्दा बढी लगातार यात्रा गर्दा थिल्लिएर जिउँदो लाससरह भएको थियो शरीर ।
कच्ची, हिलाम्मे सडकमा देशकै लामो नदी कर्णालीको तीरैतीर यात्रा गर्दा भगवान्को नामबाहेक अरू कुनै कुराको सम्झना आएन । मान्छेले चाहेको खण्डमा छोटो समयमा पनि धेरै परिवर्तन ल्याउन सकिन्छ । लाखौं खर्च गरेर बीस वर्ष अगाडि कमलबजार विमानस्थल निर्माण सुरु भएको थियो । यदि त्यही रफ्तारमा काम भएको भए उहिले नै विमान उडिसक्थ्यो । देश विकासमा रत्तिभर ध्यान नदीने सरकारका कारण हामीहरू सकसपूर्ण तरिकाले गाडीमा यात्रा गरिरहँदा गाईवस्तुहरू त्यहाँ मजाले घाँस चरिरहेका थिए । यसै कारणले पन्ध्रको चाउचाउलाई बीस, बीसको कुरकुरे तीस र सयको सिमकार्ड एक सय बीस हालेर किन्नु हाम्रो बाध्यता बनेको छ ।
दैलेखको बाटो हुँदै अछाम जाने क्रममा बाटोमा थुप्रै पुलहरू निर्माण सुरु भएका थिए । बाह्र वर्षपछि त्यही बाटो जाँदा एक/दुईवटा बाहेक दैलेखको पातले खोलालगायत अरू ठाउँका पुल बनाउनेले पैंसा खाइसकेपछि अलपत्र छोडेको देखियो । सडकमा पहिरो खस्दा गाडी चलाउन एकदमै गाह्रो थियो । सुर्खेतको बडीचौरपछिको भयावह सडकका कारण रातिको एघार बजेदेखि उज्यालो नहुँदासम्म गाडी रोक्नुपरेको थियो । लामो रुटमा रातिको समयमा दुईजना चालक हुनुपर्ने भनिए पनि कहीँकतै लागू भएको देखिएन । घरसम्म जाने पाँच किलोमिटर सडक पाँच वर्षमा पनि पूरा हुन नसक्दा हिलाम्मे धानखेत भएर पाँच घन्टा हिँड्नुपर्दा रातको नौ बजे घर पुगियो ।
घर पुगेपछि अर्को समस्या आइलाग्यो । बाह्र वर्षकी छोरी र सानो छोराले खुला ठाउँमा शौच नगर्ने भनेर ट्वाइलेट जाने जिद्दी गरे । वर्षौं पहिला शौचालय बनाउन आवश्यक सामग्री गाउँभरि नै वितरण गरिएको थियो । धेरैजसोले शौचालय बनाए पनि पानीको अभावमा प्रयोगविहीन छन् । खाना पकाउन र अन्य आवश्यक कामका लागि पनि टाढाको कुवाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यताका कारण शौचालय प्रयोगमा ल्याउन नसकी शौचालयकै लागि टाढा खेतबारी वा खोलामा नै दौडनुपर्ने बाध्यता छ । स्वास्थ्य सेवा, शिक्षा, सूचना जस्ता अत्यावश्यक न्यूनतम आवश्यकताहरू उपलब्ध नभएको ठाउँलाई नगरपालिका र सिंगो देशलाई खुला दिसामुक्त घोषणा गरिएको देख्दा आवश्यक अध्ययन नै नगरी हचुवाको भरमा घोषणा गरिएको जस्तो देखिन्छ ।

रक्सीको महामारी
गाउँमा अलिअलि पढेर खेती गरेर बस्ने केही युवाहरू पनि छन् । तर दुःखलाग्दो कुरा, यी अपवादमात्रै छन् । धेरैजसोले त बाह्रै महिना रक्सी खाने गरेको उनीहरूका परिवारले बताउने गरेका छन् । तीमध्ये एकजना नजिकका दाइ मधुमेह र उच्च रक्तचापका बिरामी थिए । दसैंको बेला एकैचोटि रक्सी र मासुले अस्पताल नपुर्‍याउँदै तीन वर्षअघि ४५ वर्षमै उनको निधन भयो । अर्का एकजना दाइ पनि अत्यधिक रक्सी पिउँछन् । दुईचोटि बेहोस् भएर ढलिसके । डाक्टरले उच्चरक्तचापका कारण यस्तो भएको हुँदा सावधानी अपनाउन र उपचार गर्न सुझाएका छन् । पैसाजति रक्सीमा सकिने भएकाले उपचार गर्न उनलाई आर्थिक अभाव छ ।
अर्का एकजनाको एकापट्टिको शरीर राम्रोसँग चल्दैन । लठ्ठीको सहारामा हिँड्छन् । तर, जे भए पनि रक्सी पिउन नछोड्ने कसम खाएका छन् । यस्ता कतिपय रक्सी पिउनेहरूका बालबच्चा टुहुरा र श्रीमती विधवा भइसकेका छन् । तैपनि अहिलेका युवाहरू सचेत हुन सकेका छैनन् । पुरुष र युवाले रक्सीले ढल्ने भएकाले रातविरात जंगली जनावरबाट खेतबारी जोगाउन महिलाहरूले खटिने
गरेका छन् ।

कसले पाल्ने गाई ?
छोराछोरी टाढिएकाले उमेर ढल्केकाहरूलाई अहिले गाई पाल्न नयाँ समस्या आएको रहेछ । गाई बूढो भएपछि के गर्ने ? बूढो गाई कसैले नलाने ! आफैले पैंसा दिएर कसैले लिएर गए पनि आफ्नै घर नजिकै भीरबाट लडाएर जाने वा खोलामा छाडेर जाने हुँदा झन् पीडा हुने उनीहरूको भनाइ थियो । गाईका साना बाच्छाहरूलाई मान्छे मरेपछि तेह्र दिनको काममा पुरोहितलाई दान दिने गरिन्थ्यो । अहिले पुरोहितले पनि लिएर जान छोडेपछि गाई ब्यायो भने बाच्छाहरू कसरी पाल्ने भन्ने ठूलो समस्या भएको छ । यस कारण अहिले साना अछामे गाईहरू देख्न मुस्किल हुने गरेको छ । यसै कारण भारतको झुलाघाटबाट आउने ठूला दुधालु गाई पनि अहिले आउन बन्द गरिएको रहेछ ।

बाटोले बिगार्‍यो बानी
सुदूरपश्चिमका कतिपय जिल्लाका गाउँहरू सडक सञ्जालमा जोडिएका छन् । गाउँ नै छियाछिया हुनेगरी काटिएका यस्ता सडकहरूले वनविनाश त गरेकै छन् गाउँलेहरूको हिँड्ने बानी पनि बिगारेको छ । एक किलोमिटर हिँड्न पनि ऋण काढेरै भए पनि सवारीसाधन चढ्ने गरेका छन् । केही समय अघिसम्म सबैजसो गाउँलेहरू आफूलाई पुग्ने तरकारी आफ्नै खेतमा उब्जाउँथे । अहिले थोरै पैसा हुनेले पनि सवारीसाधनको सुविधाले गाउँमै उब्जाउन छोडेर आलु, प्याज, टमाटरजस्ता तरकारीहरू किन्न थालेका छन् । जसका कारण दिनप्रति दिन खाद्यान्नको आयात बढ्दै गएको छ । विदेशबाट प्राप्त हुने सडेको खाद्यान्न उपयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने हो तर त्यो नभएर दिनप्रति दिन बढेको मात्रै छ ।
हाम्रा पूर्वजहरूले जीवनयापनका लागि चाहिने सबै आधारभूत कुराहरू त्यही ठाउँमा उत्पादन गर्न सक्थे भने अहिलेको युवाले नसक्ने, विदेशतिर मात्र हुँइकिने कारण खोज्न ढिला भइसक्यो । हैन भने असमान जनसंख्या वितरणले सामाजिक, सांस्कृतिक तथा वातावरणीय असन्तुलन भई देशलाई दूरगामी असर नपार्ला भन्न सकिन्न ।

महिनावारीका कारण छोड्नुपर्‍यो घर
तिहारसम्मै स्कुल बिदा भए पनि दसैं टीका सकिएसँगै एकखाले चिन्ताले सताउन थालेको थियो । तिहारसम्म घरमा बस्दा हामी दुइटै आमाछोरीको महिनावारी हुने पालो थियो । यही दसैंमा बिहे भएकी नन्दले आफ्ना दाइलाई यस्तै परिस्थितिका कारण अहिलेसम्म एकचोटि पनि तिहारमा टीका लगाउन पाएकी थिइनन् । हामी सबै धर्मसंकटमा थियौं ।
गएको एक दशकमा छाउपडी प्रथामा रत्तिभर परिवर्तन आएको देखिएन । अहिले पनि महिनावारी भएकी महिलालाई छ दिनसम्म घरभित्र पस्न दिने गरिएको छैन । गाउँमा रहेको एकमात्र छाउघरमा सुत्न जानुपर्छ । यदि त्यहाँ सुत्न ठाउँ भएन भने खुला आँगनको छेउमा वा पर गह्रामा पाल टाँगेर सुत्नुपर्छ । सहरमा महिनावारी हुँदा पलङमा आरामसाथ सुत्ने र आफूले प्रयोग गरेका तन्ना पनि धुन नमान्ने जम्मा बाह्र वर्षकी छोरीलाई चिसो अँध्यारो रातमा एक्लै घरबाहिर सर्प, कीराफट्यांग्रा आइरहने खलामा सुत्न लगाउनु र खोलामा गएर लुगा धोएर आऊ भन्नु मेरा लागि सोच्न नसकिने कुरा थियो ।
नजिकै अर्को नयाँ घर पनि बनाइएको थियो । त्यो घरको गोठमा गाईवस्तु बाँध्ने गरे पनि माथिल्लो तला खाली नै थियो । महिनावारी भएकी महिलालाई त्यो घरमा पनि ठाउँ थिएन । गाईवस्तुलाई गोठमा बाँध्न हुने तर महिनावारी भएकी महिलालाई गोठमा पनि बस्न नहुने भन्दा हामी महिलाहरूलाई जनावरभन्दा पनि तल राखिएको भान भयो । सँगैको घरको गोठमा सुत्न पाइन्छ कि भनेर सोध्दा एउटै घरमा सुत्दा लसपस हुन गई घरका बूढापाकालाई रिंगटा लागेर ढल्ने, खान मन नहुने, सन्चो नहुने, काम्ने, देवीको बाहन बाघ घरमा आई बाख्राहरू खाने अनिष्ट गर्ने हुँदा सुत्न मिल्दैन भनियो । हामी आमाछोरी घर बाहिर वा छाउघर सुत्न नमान्ने र घरकाले घरमा सुत्न नदिने अवस्था आएपछि तिहारअगाडि नै घर छोडेर हिँड्नुपर्‍यो । यतिमात्र हैन, महिनावारी हुँदा घरभित्र सुत्न पाइएन भने अर्कोपालिदेखि घरमै नआउनेसम्म पनि भनियो ।
मेरै देउरानी र छिमेकी एकजना देउरानी हेल्थपोस्ट र अमेरिकी सहयोगमा सञ्चालित न्यायल स्वास्थ्यमा काम गर्छन् । महिनावारी हुँदा परिवारविरुद्धमा बोल्न नसक्दा साना बालबच्चासहित छाउघर या घरबाहिर आँगनमा सुत्न बाध्य छन् । पश्चिमका कतिपय गाउँहरूमा महिनावारी हुँदा घरभित्रै पनि सुत्न दिने गरिएको छ । जस्तो मेरो माइती गाउँ बैतडीमा घरभित्रै सुत्छन् । दूध, दही, घ्यू, मही, दूधचिया आदि दूधबाट बनेका परिकारहरू भने त्यहाँ पनि खान दिइँदैन । पाँच दिनसम्म साह्रै कठोर गरी बार्नुपर्छ । योचाँहि घरकी बुहारीका लागि । घरकै छोरीहरूलाई भने छ दिनसम्म बार्न लगाइन्छ । मठमन्दिर, पूजाकोठामा जान नपाइने । धामीझाँक्री हिँडेको बाटोमा तर्केर हिँड्नुपर्नेजस्ता अप्ठ्याराहरू कायमै छन् ।
सासंदहरूले २०७६ सालमै छाउपडीमुक्त गर्ने धाराणा संसद्मा राखेका छन् । यसलाई महिला, बालबालिका मन्त्रीले गम्भीरतापूर्वक लागू गर्ने बताएकी पनि थिइन् । महिला, बालबालिकासम्बन्धी संसदीय समितिले २ महिनाभित्र छाउपडी प्रथा उन्मूलन गर्न सरकारलाई निर्देशनसमेत दिएको थियो । महिनावारी हुँदा छाउघर बस्न बाध्न पार्नेलाई तीन हजार जरिवाना तथा तीन महिना जेलको सजायसहितको कानुन पनि बनेको छ । तर, जस्तै कानुन बने पनि लागू गर्न भने सरकारले पटक्कै सकेको छैन । कानुन बनाउँदैमा सबै कुरीति हट्दैनन् । हट्ने भए नेपालमा छुवाछुत उहिल्यै हटिसक्थ्यो ।
हाम्रा दिदीबहिनीले कहिलेसम्म ज्यान जोखिममा राखी छाउघरमा शरण लिनुपर्ने हो अत्तोपत्तो छैन ।

Page 21
Page 22
कोसेली

प्रकृति र मानवको सहचेतनाको उडान

 

पर्यावरणीय चेतनाको उच्चबोध गर्दै पक्षी, मानिस तथा अन्य प्राणी र वनस्पतिसहितका अनेक कथामा ‘हंस’ उपन्यास संरचित छ । मानिस, जनावर, पशुपक्षी र वनस्पतिका अनेक संवेदनासहित फरक शैलीमा बुनिएको यस आख्यानले मानवीय ‘हंस’ मा अपुग रहेका अनेक चेतनाका तहलाई पनि खोलेको छ ।
उपन्यासले आख्यानको संरचनाबाट चरासहित अन्य मानवेतर प्राणीका कथालाई उभ्याउँदै मानवीय चेतनाको तहलाई फराकिलो पार्ने दृष्टिकोण पनि पेस गरेको छ । मानवीय मनसोरवरमा सम्बन्धका अनेक संकुचन छन् । ती संकुचनलाई चरा तथा सरिसृपका अनेक कथाबाट व्यंग्य गर्दै मानिस आफैंले बनाएको समाज र सभ्यताको माकुरे जालोमा कसरी प्रताडित छ भन्ने यथार्थ बोलेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय नियमका अनेक जालोमा आजको मानिसको स्वतन्त्रता बन्दी छ तर पनि मानिस आफ्नो सभ्यता र उपलब्धिको गुड्डी हाँक्छ अनि भौतिक सुखको खोजीमा ताहुरमाहुर गरिरहन्छ । उपन्यासमा चरा जति पनि स्वतन्त्र हुन नसक्ने लुगा लाउने मानिस (आवरणमा मात्र रमाउने, भित्री सुख नभेट्ने) देखेर हाँस, गाड्यौला र सर्पहरू पनि व्यंग्य गर्छन् ।
म पात्रको जीवनको जालो परिबन्दमा परेको छ । समाख्याता म पात्र पत्नी सीमालाई अर्कैले लगेको झोंकमा हिंसात्मक मनोवृत्तिमा पुग्दै गर्दा आख्यानको आरम्भ हुन्छ । पढ्दै जाँदा म पात्र मात्र होइन उसको जार अनुज पाँडे पनि उस्तै परिबन्दमा परेर विसंगत जीवनको महाजालोमा बेरिएको हुन्छ । यी दुवैका कथासँग आप्रवासी अनुभव, प्रेम, विछोड, ईर्ष्या, हिंसा आदिजस्ता चरम नकारात्मक संवेगका अनेक सन्दर्भ आउँछन् । तर जति आउँछन् तिनले जीवनको विसङ्गत पाटोलाई मात्र उजागर गर्छन् । यसबाट वर्तमान जीवनको यथार्थबोध हुन्छ । पश्चिमा जीवनको भौतिकता र उपभोक्तावादी संस्कृतिको महाजालोमा फसेका दक्षिण एसियाली निमुखा नागरिक पात्रहरू समुन्नत र न्यायपूर्ण भनिएको समाजमा पनि शोषणमा नै परेका छन् । कमाइको लालसाले डो‍र्‍याएको जीवनले सधै जीवनलाई संकटको मझधारमा उभ्याएको छ । अवसरको थलो मानिएको अमेरिका मोहको आजको यथार्थ र त्यहाँ भासिएका जीवनको निरीहपनलाई उपन्यासले उधिनेको छ ।
वनस्पति, प्राणी र पक्षीका अनेक संवेदना बोकेको सञ्जीव उप्रेतीको यस आख्यानमा उड्ने हाँस र नउड्ने हाँसको प्रेमकथा रोचक छ । स्वैरकल्पनाको प्रयोगमा नागराजा, नागरानी र डोब्रे सर्पको त्रिकोणात्मक प्रेमको लोककथाले आख्यानमा अझ रोचकता थपिन्छ । टौदहको वास्तविक प्राकृतिक सेरोफेरोमा आख्यानको स्वरैकाल्पनिक बुनोट वास्तविकझैं भान हुन्छ ।
म पात्रको सीमासँग प्रेम सुरु भएको थलो टौदहमा हाँसहँसिनी, नागनागिनी आदिका प्रेमकथा जोडिएका छन् र समाख्याताले कथा भन्न रोजेको थलो पनि टौदह नै हो । पत्नी सीमालाई लगेको जारसँगको रोचक भेट पनि टौदहमा नै भएको छ । जारको घाँटी छिनाएर आत्मसन्तुष्टि लिन चाहने म पात्रको हिंसात्मक सोचसँगै कथाले यही ठाउँबाट गति लिएको छ । घटनाका अनेक उतारचढावमा हिंसा गर्न चाहने मपात्रको मनस्थितिको उथलपुथलसँगै कथा अझ कुतूहल बन्दै जान्छ । टौदहका किनारमा वृद्धाको सान्निध्य र उनीबाट सुनेका अनेक किंबदन्ती लोककथाका शैलीमा कथामा जोडिँदै जान्छन् नागनागिनी र हाँसहँसिनीका प्रेमकथाहरू बन्दछन् । परिवेशमा अनेक वनस्पतिको स्थिति र अन्य चराका सन्दर्भ पनि आउँछन् । उपन्यास त्यतिबेला अझ रोचक लाग्छ जतिबेला मानवप्रेम र पक्षी तथा नागनागिनको प्रेमका कथा उस्तैजस्ता लाग्छन् । आखिरमा प्रेम नै ब्राहृमण्डमा सबैले बुझ्ने साझा भाषा रहेछ !
यस आख्यानले पर्यावरणीय चेतनामार्फत् मानवीय हंसको संकुचन वा साँघुरो घेराको तुलनामा पक्षी वा हंसको फराकिलो जीवनशैलीको तुलना मात्र गर्दैन प्राकृतिक जीवनशैलीबाट विमुख हुँदै गएको मानव सभ्यताको समस्या र संकटलाई पनि संकेत गर्दछ । मानिसका मात्र कथालाई महत्त्व दिइने मानवीय सभ्यताको पृथ्वीमा अन्य प्राणीका पनि कथा हुन्छन्, तिनलाई हामीले सुन्न सक्नुपर्छ भन्ने चेतनाको विकास गरेको छ यस उपन्यासले । अन्य प्राणीमा रहेको चेतनाकै कारण उनीहरूका बीच पनि सामूहिकता, समता र प्रेमका भाव छन् भन्ने कुरा कथाले पुष्टि
गरेको छ ।
बकुल्ला र गँड्यौलाको एउटा संवाद :
‘...अनि आफ्नो थलो छाडेर अर्कै ठाउँमा जाँदा तिनेरु सजिलै जान पाउँदैनन् । तिनले कागज लिनुपर्छ ।’
‘कागज अरे !’ गँड्यौलाले अचम्म मान्दै सोध्यो ।
‘अर्काको ठाउँमा जान उनीहरूलाई कागज चाहिन्छ,’ बकुल्लाले भन्यो, ‘लुआ लाउनेलाई बाँच्नको निम्ति थुप्रै थरीका कागज चाहिन्छन् ।’
‘हो र ! कस्ता कागज ?’
‘आगरिकता, आस्पोर्ट, इसा, आलपुर्जा, खोई केके हो केके ! ...
‘बिचरा लुआ लाउनेको जीवन हामी भुइँहारा अड्यौलाहरूको भन्दा पनि कठिन रहेछ त !’ गँड्यौलाले भन्यो, ‘विचरा लुआ लाउनेहरूको कागजे जीवन ।’ (पृ. १९९)
आख्यानले भाषाको साँघुरो घेरालाई नाघेर पक्षी र सरीसृपको भाषाको सिर्जना पनि गरेको छ । ‘अ’, ‘आ’, ‘इ’, ‘ओ’ जस्ता स्वरवर्णको आधिक्यमा तिनले प्रयोग गरेको भाषामा रोचकता मात्र पाइन्न, लेखकको चलाखी पनि भेटिन्छ । कतिपय अश्लील मानिएका शब्दको प्रयोगलाई आवरण दिन यी स्वरवर्णले सजिलो बनाएको छ ।
हंसले पुंसत्व र नारीत्वका अनेक भाष्य पनि उजागर गरेको छ । म पात्रलाई राष्ट्रवादीजस्ता मित्रले गरेको व्यवहारबाट पितृसत्ताले पुरुषलाई पनि कसरी शोषण गरेको छ भन्ने कुराको पुष्टि गर्दछ । माया र सीमाका कथामा नारी स्वरका अनेक रूप भेटिन्छन् । समग्रमा भन्दा मानवकेन्द्रित विश्‍वदृष्टिलाई थोरै ओझेलमा पारेर प्रकृति र पर्यावरणका विषयलाई हंसले केन्द्रमा ल्याउन खोजेको छ । मानवीय चेतनाको आयातन फराकिलो पार्ने पर्यावरणीय चेतना नेपाली आख्यानमा सघन रूपमा खन्याउन सक्नु र अनेक मुद्दालाई सरल भाषामा समेट्न सक्नु यसको उपलब्धि बनेको छ । चरित्रको प्रगाढता मानवको कथामा पाठकले जति सजिलोसँग प्राप्त गर्छ हाँस र अन्य पक्षीका चरित्रलाई उति प्रगाढ स्मृतिमा राख्न पाठकलाई हम्मे नै पर्ला । लेखकले पक्षीको चरित्रलाई अझ विशेष बनाउन नसकेको भए जस्तो पनि लागिरहन्छ पढिसक्दा ।
‘घनचक्कर’ को उलपुलटमा आख्यानको जटिल तह बुनेका बौद्धिक लेखक सञ्जीव उप्रेतीको यो उपन्यास सरल लेखन हो । ‘घनचक्कर’ पागलपनको विषयमा केन्द्रित थियो र स्वाभाविक रूपमा भाषा पनि जटिल नै थियो । तर ‘हंस’ मा प्रेमको विषय प्राथमिकतामा छ । यस उपन्यासले मानिस र प्रकृतिमा रहने अनेक प्राणीको प्रेमलाई समभावमा हेर्न र बुझाउन खोजेको छ । मानव, हाँस, सर्प, वृक्ष आदिमा रहने प्रेमका विषयलाई उपन्यासमा रोचक रूपमा प्रस्तुत गरिएको छ । साथै प्रेमकै कारण उपन्यासमा सम्बन्धका अनेक रूपले मानवमा उत्पन्न हुने डाहा, ईर्ष्या, छटपटी, हिंसात्मक मनोवृत्ति आदि अनेक संवेगको पनि चित्रण गरिएको छ । प्रेम संसारमा सबैले बुझ्ने विषय हो र यसको भाषा सरल हुनुपर्छ भन्ने मान्यता उपन्यासमा छ । हेमिङ्गवेको ‘ओल्ड म्यान एन्ड द सी’ को विषय पनि उपन्यासमा ल्याउनुमा यही उद्देश्य देखिन्छ । सरल शब्द र वाक्य रचनाले सबै तहका पाठकले बुझ्ने उपन्यास लेखिएको छ । वास्तवमा प्रेमको भाषा कस्तो हुनुपर्छ भन्ने कुरातर्फ पनि यस उपन्यासले संकेत गरेको छ । त्यसैगरी संसारमा मानिस र प्राणीमा हुने प्रेम उस्तै हो भने यिनका भाषा एक अर्काले बुझ्न सक्छन् कि सक्दैनन् त भन्ने संवेदनशील पर्यावरणीय पक्षलाई पनि उपन्यासमा उठाइएको छ । आख्यानमा लोककथाको शैली पनि गाँसिएको छ जसले सरल भाषाको अपेक्षा गर्दछ । प्रकृतिको नजिक गई तिनको सूक्ष्म अध्ययन गरी फरक विषयमा आएको यो आख्यान रोचक र समय सान्दर्भिक छ । नेपाली साहित्यमा पर्यावरणीय पक्षसहितको नयाँ विश्वदृष्टिले यो कृति महत्त्वपूर्ण छ । गहन पर्यावरणको विषय, प्रेमको प्राकृतिक र ब्रमाण्डीय स्वरूप, लोककथात्मक र स्वैकल्पनात्मक शैलीको संयोजन तथा कथानकको कौतूहलपूर्ण बुनोट यस उपन्यासका शक्ति हुन् । उपन्यासमा हाँसको कथा बूढी आमैले सुनाउँछिन् तर पढ्दै जाँदा समाख्याता मपात्र नै यसमा मिसिन्छ । यसले घरीघरी पाठकमा अलमलको स्थिति पैदा पनि हुन्छ तर प्राणी र वनस्पतिको रोचक मानवीकरण र तिनको फरक भाषाको निर्माणले उपन्यासमा रौनक थपेको छ । जम्मा १२ ओटा छोटा छोटा खण्डमा संरचित उपन्यास २१९ पृष्ठमा रहेको छ र छोटैमा मानिस र अन्य प्राणीका धेरै कथा कथेको छ ।

रजनी ढकाल

कोसेली

संगत गुनाको फल

- बालिका थपलिया

 

‘तिमी यस नेपालमा खेर गइरहेका नदी सरह हौ,’ श्रीमान् गोविन्दराज भट्टराईले आफूलाई यस्तो वाक्य प्रयोग गरेपछि अञ्जनाको मनमा काँडा बिझेझैं भयो । यही वाक्यले उनलाई नियात्राकार पनि बनायो । केही लेखेर देखाउन मन लाग्यो । उनको क्षमताले उनलाई चुनौती दियो । त्यसपछि उनले ‘जीवनका घुम्ती र देउरालीहरू’ नामक कृति जन्माइन् । ‘यात्रामा पनि ठूलो शिक्षा लुकेको हुँदो रहेछ’ अञ्जना आफनो आत्मसंस्मरणमार्फत् यही वास्तविकतालाई प्रस्ट्याउन चाहन्छिन् । उनले कृतिको सुरुवातमा ताप्लेजुङको महत्त्वलाई बयान गर्दै ‘ताप्लेजुङ यात्राको संयोगले ब्युँझाएका सम्झनाका पत्रहरू’ शीर्षकको संस्मरण लेखेकी छन् । त्यो ठाउँ उनको श्रीमान्का पुर्खाहरूको थातथलो पनि हो । दोस्रो लेखले इलामको महत्त्वलाई दर्सार्एको छ । जहाँ उनले इलामको शैक्षिक र प्राकृतिक महत्त्वको चर्चा गरेकी छन् । तेस्रा नियात्रामा उनले नगरकोटको प्राकृतिक सुन्दरताको बयान गरेकी छन् ।
चौथो संस्मरणमा उनले श्रीलंका यात्राबारे लेखेकी छन् । राष्ट्रसंघको महासभाका निम्ति उनलाई जाने अवसर मिलेको थियो । कोरिया भ्रमण गर्दा सियोल, ग्वाङ्जु, मोक्पो, दक्षिण कोरियाको दक्षिणी सिमाना आदि ठाउँ घुम्दाको अनुभवको बयान गरेकी छन् ।
परिवारसँग भारत भ्रमण गर्दा अनि धार्मिक स्थलमा जाँदा उनले गरेको अनुभवलाई यसरी व्यक्त गर्छिन्, ‘शक्तिका प्रतीक देवीस्थलहरू किन उचाइमा हुँदा रहेछन् ? शक्तिछेउ पुग्न सजिलो हुँदैन, कडै परिश्रम गर्नुपर्छ भनेर होला त । हुन त अन्य कति देवताका मन्दिर पनि चुचुरामा हुन्छन् । उदाहरणस्वरूप नेपालको मुक्तिनाथ, भारतको बद्री केदारलाई लिन सकिन्छ तर उचाइमा हुने देवीस्थलको संख्या अन्यको तुलनामा बढी नै देखिन्छ ।’ त्यसपछि उनी अमेरिकाको नेब्रास्का जाँदा घुमेका विभिन्न ठाउँको बारेमा आफनो अनुभव लेख्छिन् । त्यहाँको युनिभर्सिटी, पुस्तकालय, फार्मर्स मार्केट, चिडियाखाना, बेलेभ्यु विश्वविद्यालय, प्रविधि विभाग, ग्यालप, डेरी, स्टेट क्यापिटल, स्ट्राटेजिक एयर कमाण्ड म्युजियम, वासिङटन, स्टेट डिपार्टमेन्ट र क्यापिटल हिल आदि ।
‘मोक्पो राष्ट्रिय विश्वविद्यालयको निमन्त्रणा’ शीर्षकको संस्मरणमा कोरिया यात्राको बारेमा लेखेकी छन् । यात्राको क्रममा भेट भएकी एउटी पाकी महिलाले जुस पिएका ग्लासलाई टिसुले पुछपाछ पारेर आफ्नो ब्यागमा खुसुक्क छिराएको देख्दा मानवीय स्वभावमा समानता भएको अनुभव गर्छिन् लेखक । मानवीय स्वभावलाई जाति, धर्म, भाषा, भूगोलले अन्तर नल्याउने उनको ठम्याइ छ । अर्को संस्मरण ‘एक आकस्मिक यात्रा’ मा जीवनका आरोह–अवरोहलाई यसरी परिभाषित गरेकी छन् ‘आरोह–अवरोह जीवनका अभिन्न गहना हुन् । कुन क्षण के हुन्छ सधैं अनिश्चित ।’ यसभित्र उनले आफूलाई मुटुको समस्या हुँदा झेलेको समस्या र उपचारको बारेमा उल्लेख गरेकी छन् । अखिल भारतीय आयुर्विज्ञान संस्थानमा नयाँदिल्लीमा गएर मुटुको उपचार गरेको बारेमा उनले यसमा उल्लेख गरेकी छन् ।
आफ्नी छोरीसँग थाइल्यान्डमा यात्रा गरेको प्रसंगलार्ई उनले ‘थाइल्यान्डको पर्यटकीय यात्रा’ शीर्षकको संस्मरणमा सम्झना गरेकी छन् । यस कृतिमा समेटिएको अन्तिम संस्मरण ‘दिल्लीको अस्पताल बसाइ र पठन’ मा आफ्ना श्रीमान् बिरामी भएर भारतको अस्पतालमा उपचार गराउँदाको समयलाई अभिव्यक्त गरेकी छन् ।
सरल लेखनशैलीमा जीवनको गहनतालाई अञ्जना वस्तीले आफ्नो पुस्तकमा प्रस्तुत गरेकी छन् ।
आफ्नो जिन्दगीका भोगाइलाई शालीन शैलीमा उत्खनन् गरेकी छन् । यसलाई ओरिएन्टल पब्लिकेसनले प्रकाशित गरेको छ । कुनै पनि व्यक्तिको जीवनमा परिवारको महत्त्व अतुलनीय हुन्छ भन्ने वास्तविकतालाई लेखकले प्रस्ट्याएकी छन् । ‘यात्रा अनन्त ज्ञानको स्रोत हो’ यो भनाइलाई उनले आफ्नो लेखनमा उतारेकी छन् । साहित्यिक परिवारसँग नाता जोड्न पुगेकी र आफू पनि लामो समयसम्म त्रिभुवन युनिभर्सिटीमा प्राध्यापन क्षेत्रमा संलग्न रहेकी उनी संगतबाट लेखक भएको यथार्थलाई आफ्नो लेखाइमार्फत् उजागर गर्छिन् ।

कोसेली

गन्तव्यको दर्शन

साठीको दशकमा गजलकृतिहरू प्रकाशित गरेर औपचारिक रुपमा लेखनमा होमिएका शैलेन्द्र अधिकारीको ‘निर्वेद’ उपन्यास हालै बजारमा आएको छ । अधिकांश लेखकहरूले उठाउनेभन्दा फरक विषयवस्तुको उठान गरेर लेखिएको यस उपन्यासको शैली र प्रस्तुती पनि फरक छ । पाठकहरूले शैलेन्द्रको भाषाशैलीमा आफूलाई अभ्यस्त गराउन तारणीप्रसाद कोइराला, दौलतविक्रम बिष्ट वा भवानी भिक्षुको समयसम्म पुग्नुपर्छ भन्ने मलाई लाग्छ ।
बलियो कथानकमा ‘निर्वेद’ बुनिएको छ । कथानकमा वर्णन भएका सम्पूर्ण घटना र प्रसंग एकै ठाउँमा शृंखलित र सुसम्बद्ध भएर आएका छन् । जसले गर्दा एकता र अन्विति संश्लिष्ट हुन पुगेको छ । भौतिकवाद र अध्यात्मबीचको द्वन्द्वको पेरिफेरिमा पात्रहरूको कार्यव्यापार हुन पुगेको छ । कथाभित्र पलाएर आएका उपकथाहरूले पनि ‘निर्वेद’ को पूर्णतातर्फको यात्रालाई सघन तुल्याएको छ ।
म पात्रलाई सँगै लिएर हरिद्वार पुगेको निर्वाणानन्दको पलायनले आजको समाजको सम्भाव्यता र यथार्थताको खोजी गर्दछ । चप्पलको निशानी छोडेर स्वामी हराउनु भनेको भौतिक र अध्यात्मबीचको संघर्ष र परिणामको खोजीमा भौँतारिने आजको समयको बलियो रुपक हो । उनले ‘निर्वेद’बाट गन्तव्यको दर्शन गर्न खोजेका छन् ।
यस उपन्यासको सबैभन्दा शक्तिशाली पक्ष भनेको आन्तरिक द्वन्द्व हो । नायक निर्वाणानन्द पटकपटक आफैँभित्रको करुणाको भूकम्पले भत्किएका छन् । उनको अस्थिर मनोदशाले नै उनलाई सिध्याएको छ । हरिद्वार पुगेर गराइएको उनको सहज अन्त्यका लागि तदनुरुपको ‘प्लान्टेसन’ गराइँदै लगिएको पाइन्छ ।
नैतिकता र अभिवृतीय गुणले कुनै पनि व्यक्तिलाई व्यक्तिकै रुपमा पहिचान गर्न सहयोग पुर्‍याउँछ । यी दुई गुणका माध्यमबाट लेखकले पात्रको टेम्पारामेन्ट र नेचर प्रस्तुत गरेका छन् । जुन व्यक्तिमा जुन किसिमको स्वभाव र प्रकृति आरोपित छ, त्यसैको पृष्ठभूमिमा टेकेर निर्वाणानन्दको चरित्रको अभिप्रेरणा प्रकट भएको छ । उनी मोक्षका लागि आएको चिनारी दिइएको छ र उनी त्यसैका लागि अभिप्रेरित भएका छन् । सतही रुपमा हेर्दा उनी परिवर्तनीय पात्रजस्तो देखिए पनि मिहीन ढंगबाट वस्तुनिष्ठ भएर हेर्दा उनी ‘स्टेबल’ पात्रमै पर्छन् । अभिप्रेरणाको कारणतर्फ अभिप्रेरित भइरहनु र आफ्नो लक्ष्यमा सफल हुनुले उनलाई अचर पात्र बनाएको छ ।
यहाँ प्रस्तुत भएको जीवनचेतना अत्यन्त बौद्धिक र विकसित समाजको परिकल्पना पनि हो । चरित्रहरूको चित्रण पनि सहज र रुचिकर छन् । ‘टेलिङ मेथड’लाई गौण राखी लेखकले चलाखीपूर्ण तवरबाट ‘सोइङ मेथड’लाई बढी महत्व दिएका छन् । जसले गर्दा पाठकलाई उपन्यासको हरेक परिच्छेद पढ्दै जाँदा कुनै सुन्दर चित्र हेरिरहेजस्तो अनुभूति हुन्छ । यसका साथै लेखकले यहाँ आवश्यकतानुसार विवरणात्मक, वर्णनात्मक, विश्लेषणात्मक, आत्मकथात्मक, सङ्केतात्मक र नाटकीय पद्धतिको पनि छिटपुट प्रयोग गरेका छन् ।
मञ्चीय पात्रका रुपमा आएका निर्वाणानन्द, उनका बालसखा एवम् प्रेमिकाको भूमिका जति रोचक छ, नेपथ्य पात्रका रुपमा वर्णनमा आएका सहायक पात्रहरूको छोटोछोटो भूमिका पनि कम उल्लेखनीय छैन । यहाँ बद्ध पात्रहरूका तुलनामा मुक्त पात्रहरू अत्यन्त कम छन्, उपन्यासको अर्को सफल पाटो यो पनि हो ।
उपन्यासको घटनास्थल पाशुपत क्षेत्र, शिवपुरी, काठमाडौं सहर, धादिङ र हरिद्वार मुख्य हुन् भने घटनाकाल तीसको दशकदेखि हालसम्मको छ । यद्यपि वर्तमानबाट हेर्दा साठीको दशक र ‘फ्ल्यासब्याक’मा गएर हेर्दा चालीसको दशकको घटनाकाल प्रस्तुतिका हिसाबले बढी रुचिकर देखिएको छ । नेपाली समाजको सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक स्वरुप र सांस्कृतिक पक्षले निम्त्याएको विदीर्ण रुपको चित्र पनि यहाँ सजीव लाग्दछन् । ग्रामीण भेगमा व्याप्त अन्धविश्वास र त्यसले चरित्रको मनोदशामा पारेको प्रभावको प्रतिफल स्वरुप पात्रको गन्तव्य र भाग्यभविष्य निर्धारण भएको छ ।
बाल्यकालीन बिठ्याइँ, गाउँ र सहरबीचको दूरी, शारीरिक परिपक्वतासँगै उत्पन्न भएको समस्या र सोही समस्याको सेफ ल्यान्डिङका लागि गरिएको प्रयास बनावटी लाग्दैन । छिटपुट आञ्चलिकता र स्थानीय रङको प्रयोगले यस उपन्यासको क्यानभासलाई थप चम्किलो बनाएको छ । उपन्यासकारले प्रयोग गरेको भाषा र उपन्यासमा प्रयुक्त पात्रहरूले प्रस्तुत गरेको भाषामा त्यति धेरै अन्तर त छैन यद्यपि पात्रहरूको लवजलाई यथाशक्य सरलीकरण गर्न खोजेको चाहिँ देखिन्छ । सन्दर्भअनुरुप प्रयोग भएको हिन्दी भाषा र न्युन प्रयोग भएको संस्कृत भाषाले पठनमा रोचकता प्रदान गरेको छ । जीवन के हो ? पचास जनालाई यही प्रश्न सोध्यो भने पचास थरीकै उत्तर आउन सक्छ । ‘निर्वेद’ले जीवनलाई भोगाइको रुपमा चित्रण गर्न खोजेको छ । आखिर हामीले जेजे भोग्दै गयौँ, त्यहीत्यही जीवन हुने रहेछ ।
यहाँ जीवनदर्शनलाई आख्यानीकरण गर्ने प्रयास गरिएको छ । दर्शन भनेको नुन हो, हामीलाई दैनिक चाहिन्छ । तर, त्यसको मात्रा ठीक हुनु आवश्यक छ । नुन हामीलाई नभई हुँदैन, नुन मात्र खाएर बाँच्न पनि हामी सक्दैनौँ । पौरस्त्य दर्शनको मान्यता र शिल्पसज्जालाई सहजीकरण गर्दै आख्यानात्मक मूल्य प्रदान गर्न खोजिएको प्रयास प्रशंसनीय नै लाग्दछ ।
अनपेक्षित यात्रा र यात्रीमा समयप्रतिको कटाक्षलाई लेखकले यसरी प्रस्तुत गरेका छन्,
जसरी उज्यालो बोकेर आउँछ घाम
त्यसै गरी जीवनमा कोही आएन
जसरी प्रकृतिलाई हरियो रङमा रङ्गाएर वसन्त आउँछ
त्यसरी पनि कोही आएन ।
शीत बोकेर आएको जून जस्तो,
कोही आयो थाहै नदिई
साँझको पाहुना जस्तो अचानक
आयो पीडा ... ।
जीवनप्रतिको मोह भङ्ग भएर निष्काम कर्मयोगी बन्नेतर्फको सुन्दर लक्षणको संकेत गर्दै लेखकले अध्यात्मचेत नै ब्रहृमज्ञानको सूचक भएको तर ब्रहृमत्व प्राप्ति र जीवनबीचको दूरी निकै लामो भएकोले अधिकांश हामी बीचैको दूरीमा कुहिरोको काग भइरहनुपरेको कटु यथार्थको रहस्योद्घाटन गरेका छन् ।
भाषा सलल बगेकै छ । तर, अघिल्ला ‘एक्ट’ हरूमा भन्दा पछिल्ला ‘एक्ट’ हरूमा विषयवस्तु र प्रस्तुति दुवै फितला छन् । निर्वाणानन्दको जीवनको अन्त्य भएसँगै उपन्यासको ‘फलिङ एक्सन’ सुरु हुन्छ । निर्वाणानन्दको ल्यापटपमा भेटिएको फाइल निर्वेदले उनलाई त्यो चरणसम्म पुर्‍यायो भनेर पत्याउन कठिन हुन्छ । फ्ल्यासब्याकमा आएका ती घटना सन्दर्भहरू रोचक र रुचिकर त छन् तर त्यस किसिमको जीवन भोगाइबाट आएका मानिसहरू सहजै त्यसरी योगी बन्ने बाटोतर्फ उद्यत हुने र हुन सक्ने हुँदो हो त यतिखेर देशमा सामान्य मानिसको भन्दा योगीको संख्या बढी भइसक्थ्यो । यस भनाइको तात्पर्य के हो भने त्यसरी फ्ल्यासब्याक आएपछि त्यो सामान्य समयको अन्त्य र संन्यासी समयको सुरुवातको बीचमा लेखकले कुनै एक मेजर ‘रिभर्सल’ दिन सक्नुपर्थ्यो जसले गर्दा पाठकले नमे अर्थात् नमराज नै योगी निर्वाणानन्द बनेका हुन् भनेर पत्याउन सक्थे । यसरी हेर्दा ‘क्लाइमेक्स’को लागि ‘प्लान्टेसन’ झुर भएको देखिन्छ ।
‘निर्वेद’मा घटनाक्रमहरूको त सहज आंगिक विकास भएकै छ । तर, पात्रहरूको मूल्य परिवर्तन (भ्यालु चेन्ज) मा भने लेखकले खासै ध्यान पुर्‍याएको पाइँदैन । त्यसो त रहस्य र खुलासामा पनि पाठकले खासै नवीनता भेट्दैनन् । अझ शीर्षकहरू दिँदै खण्डीकरण गरिएकोले पाठकले अब कथा कता जाँदै छ भन्ने भेउ पहिले नै पाइसक्छन् ।
यो एउटा जोगीको कथा हो । जोगीको ‘एक्सपोजिसन’का लागि म पात्र अनुसन्धाताको रुपमा प्रकट भएको छ । यसरी आरम्भ भएको कथामा वैराग्य र त्यसपछिको मोक्षप्राप्तिका लागि गरिएको मानसिक संघर्ष एवम् संघर्ष विकासले निम्त्याएका संकटावस्थाहरूलाई अत्यन्त तरल ढंगबाट प्रस्तुत गरिएको छ । संघर्ष ह्रासका क्रममा भएका गतिविधिहरूलाई सूत्रात्मक तवरले प्रस्तुत गर्न खोज्दा विश्लेषणको अभावले पठनमा ब्रेक लाग्नुका साथै केटास्ट्राफी त्यति रोचक बन्न सकेको छैन ।
समग्रमा ‘निर्वेद’लाई चलनचल्तीको उपन्यासभन्दा माथिल्लो श्रेणीमै राख्न सकिन्छ । सांसारिक मोहभन्दा पर पनि अर्को सुन्दर जीवनको खोजी सम्भव छ भन्ने कुरामा लेखकको ध्यान केन्द्रित भएको देखिन्छ । सत्यको खोजीमा भौँतारिएका पात्रहरू परिस्थितिको चपेटामा कसरी जकडिएका छन् भन्ने सन्दर्भको दार्शनिक पक्षलाई उद्घाटन गर्ने प्रयास यस उपन्यासमा गरिएको छ ।

हेमप्रभास

Page 23
कोसेली

ज्यानमारा बक्सिङ

विश्वमा व्यावसायिक बक्सिङमा सन् १८९० देखि २०११ सम्म जति पनि खेल भए, त्यसमध्ये भिडन्तकै क्रममा बोकेको चोटका कारण १ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसो भनेको वर्षमा १३ बक्सरको मृत्यु हुने गर्छ ।
- हिमेश

खेलकुदको विषयलाई लिएर जति पनि सिनेमा बन्छन्, त्यसमध्ये आधा जति त एउटै खेलको मात्र हुन्छ– बक्सिङ । खेलकुदबारे बनेका चर्चित फिल्म त सबैजसो बक्सिङकै छन् भन्दा पनि हुन्छ । यो खेलमा कि त जीवन हुन्छ, होइन भने मृत्यु । बक्सिङमा अरू विकल्प हुन्न । त्यसैले त सिनेमाका लागि यो निकै उपयुक्त विषय हुने गर्छ । बक्सिङले पस्कने हार जित, बदलाको झावना, मिहिनेत, त्रुरता, अनि जीवन र मृत्यु, यी सबै विश्व सिनेमाका लागि खुबै उपयुक्त छन् ।
यी सिनेमाका खेलाडी पात्रको स्थिति जस्तै भए पनि त्यसको कम्तीमा मृत्यु त हुन्न । तर व्यावसायिक बक्सिङको रिङमा उत्रनु पर्छ, त्यसमा जित र हार मात्र हुन्न, मृत्यु पनि हुन्छ । यति धेरै ज्यानमारा खेल हो, बक्सिङ । पूरा विश्वमा व्यावसायिक बक्सिङमा सन् १८९० देखि २०११ सम्म जति पनि खेल भए, त्यसमध्ये भिडन्तकै क्रममा बोकेको चोटका कारण १ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसो भनेको वर्षमा १३ बक्सरको मृत्यु हुने गर्छ ।
खेल्दा खेल्दै केही नहुने खेलाडी पनि उत्तिकै छन् । तर तिनले पनि ढिलो चाँडो केही न केही रोग बोकिहाल्छन् । जस्तो महान मोहम्मद अलिकै कुरा । आफ्नो जीवनको अन्त्यतिर उनलाई नशासम्बन्धी यस्तो रोग लाग्यो कि उनी कहिल्यै पनि सामान्य जीवनमा फर्कन सकेनन् । स्नायुसम्बन्धी रोगको पनि उत्तिकै डर हुन्छ । आखिरमा बक्सिङ यस्तो खेल हो, जसमा एकले अर्कोलाई सिधै अनुहार र टाउकोमै ताकेर हान्ने प्रयास हुन्छ । जसले बढी हान्न सक्यो, त्यही जित्यो । त्यसैले बक्सिङ ज्यानमारा खेल हो, यसलाई प्रतिबन्ध नै लगाउनु पर्छ भनेर समय समयमा आवाज उठ्ने गर्छ ।
अहिले फेरि दोहराएर यसको चर्चा किन भन्दा पछिल्लो केही समय खेलाडीको मृत्यु भएका घटना अलि बढी नै हुन थालेका छन् । केही दिन अगाडि मात्र अमेरिकाका २७ वर्षीय बक्सर प्याट्रिक डेको मृत्यु भयो । चार्ल्स कोनवेलविरुद्धको भिडन्तका क्रममा उनको टाउकोमा गहिरो चोट लागेको थियो । चोट बोकेको चार दिनपछि उनले अन्तिम श्वास फेरे ।
सेप्टेरम्बरमा मात्रै २१ वर्षीय बुल्गेरियाली बक्सर बोरिस स्टानचोभको पनि निधन भयो, अल्बानियामा खेल्ने क्रममा । जुलाईमै पनि दुई दिनको अन्तरमा दुई बक्सर मरे । मेरिल्यान्डमा भएको लाइट वेल्टरवेटको भिडन्तमा घाइते रुसी २८ वर्षीय म्याक्सिम डाडसेभ के ढले उठ्नै सकेनन् । सधैंका लागि बिलाए । त्यसको ठीक अगाडि अर्जेन्टिनाको ब्युनर्स आयर्समा भएको भिडन्तमा ह्युगो अल्फ्रेडो स्टानटिलन पनि चोटग्रस्ट भए । उनी त रिङमै ढले, फेरि उठेनन् ।
यसबीच चोट बोकेर अस्पतालमा लानु परेका खेलाडीको संख्या त कति छन् कति । खेलेरै गम्भीर चोट बोकेर थला परिरहेका खेलाडीको संख्या पनि उत्तिकै छ । अनि यो खेललाई प्रतिबन्ध लगाउनुपर्छ भन्नेको आवाज ठूलो हुने भयो नै । धैरै आलोचना भयो यो खेलसँग सम्बन्धितको उत्तर प्रायः एउटै आउने गर्छ । जस्तो, डब्लूबीएफका प्रवक्ताले केही समाचार संस्थालाई भनेका छन्, ‘बक्सिङलाई यस्तो आलोचनाको बानी परिसकेको छ, तर यसक्रममा
धेरैले बक्सिङले गरेका राम्रा काम पनि बिर्सन गर्छन् ।’
व्यावसायिक बक्सिङको सबैभन्दा ठूलो केन्द्र त अमेरिकामा नै हो । सिनेमामा देखाइने गरेजस्तै, अमेरिकामा ठुल्ठूला सहरमा सडकमै हुर्केर त्यहीं अस्ताउने युवाको संख्या अत्याधिक हुने गर्छ । विशेषतः अश्वेत युवाहरू यसमा बढी पर्छन् । यिनीहरू हिंस्रक अनि आक्रामक पनि हुन्छन् । यी सबै गुण एकजना बक्सरमा हुनुपर्ने गुण हुन् । सडकमा हुर्किने प्रायः युवाहरूको खास लक्ष्य हुँदैन । कहाँ कतिबेला एकाएक हराउने हुन्, कसैलाई थाहा हुन्न । अनि यही बक्सिङले ती युवालाई अनुशासन र आत्मविश्वास दिने गर्छ । सफलता चुम्यो भने त अपार धन पनि । यस्ता पात्रमध्ये सबैभन्दा चर्चित त माइक टाइनसनै भए । उनी सडकबाटै माथि उठेका विश्वकै सर्वाधिक चर्चित खेलाडी हुन् । बक्सिङले टाइसन जस्ता युवाको भलो गरेकै पनि हो । टाइसनले बक्सिङ नखेलेको भए, उनी गुमनाम भएर हराइसक्थे ।
त्यसो त बक्सिङ खेलेरै मर्नेको संख्याको दर घट्दो भने छ । सन् १९२० तिर धेरै बक्सरको मृत्यु भएको थियो । सन् २००० तिर आएर मृत्यु हुनेको संख्या निकै भइसकेको छ । सन् १९८३ का एउटा चर्चित भिडन्तले व्यावसायिक बक्सिङमा धेरै सुधार ल्याउन बाध्य पारियो । लस भेगासमा भएको खेलमा दक्षिण कोरियाली खेलाडी डुक–को किम घाइते भए र त्यसको चार दिनपछि उनको मृत्यु पनि भयो । उनी रे मानचिनीविरुद्धको खेलमा नकआउट भएका थिए । यसपछि भने व्यवसायिक बक्सिङलाई प्रतिबन्ध लगाउनुपर्छ भनेर चर्को स्वर उठ्यो । त्यो भिडन्त युट्युबमा उफलब्ध छ र बक्सिङ वास्तवमै कति त्रुर हुन सक्छ, थाहा पाउन सकिन्छ । त्यसपछि व्यावसायिक बक्सिङ १५ राउन्डबाट १२ मा झारियो । जम्माजम्मी तीन राउन्डको खेल कम हुँदा पनि त्यसले खेलाडीमा पर्ने चोट निकै कम भएको थियो । यस्तै खेलाडीलाई चोट कम लागोस भनेर अरू केही उपाय पनि अपनाइए ।
अमेरिकी मेडिकल काउन्सिलले सन् २००९ मा निकालेको एउटा रिपोर्ट अनुसार हजार भिडन्तमा खेलाडीको मृत्यु हुने सम्भावना ०.१३ मा हुन्छ । त्यसो भनेको वर्षमा नौ दस जना व्यवसायिक बक्सरको मृत्यु हुनु स्वाभाविक जस्तै हो । गैर व्यावसायिक बक्सिङमा भने खेलाडीको मृत्यु दर वर्षमा तीनको हाराहारीमा हुन्छ । खेलाडीको मृत्युको योभन्दा बढी सम्भावना भएका खेल त अरू पनि छन् । जस्तो, अमेरिकी कलेज फुटबल, मोटरसाइकल रेसिङ, डाइभिङ, माउन्टेनेरिङ, स्काइ डाइभिङ, हर्स रेसिङ आदि आदि ।
माउन्टेनेरिङलाई पनि पश्चिमतिर खेलकै रूपमा मानिन्छ र यसमा मृत्युको सम्भावना अत्याधिक छ । विश्वको दोस्रो अग्लो हिमाल के टुमा चढ्नेमध्ये २२ प्रतिशतको मृत्यु हुने गरेको छ, जसकी यस्तै तथ्यांक सगरमाथालाई लिएर तीन प्रतिशत मात्र छ । जब हिमाल चढ्ने धेरै मरे भनेर माउन्टेनेरिङमा प्रतिबन्ध लागेको छैन भने बक्सिङमाथि मात्र किन बढी आलोचना त ? यसको पनि एउटै उत्तर छ– बक्सिङ भनेको बक्सिङ नै हो, यो खेल नै ठूलो ।
जति बढी ठूलो खेल, उति बढी चर्चा पनि, चाहे त्यो सकारात्मक होस अथवा नकारात्मक । व्यावसायिक बक्सिङमाथि साँच्चै प्रतिबन्ध लाग्यो भने डर छ यो भूमिगत खेल हुनेछ । जति बेला बक्सिङ अन्डरग्रान्ड खेल हुनेछ, त्यो अझ डरलाग्दो हुनेछ । आखिरमा बक्सिङ त्यस्तो खेल पक्कै होइन, जहाँ फुटबल र क्रिकेटमा जस्तो केही साथी मिलेर आज रमाइलोका लागि खेलौं भन्ने हुन्छ । त्यसैले जत्तिकै विरोधमा आवाज उठेपनि व्यावसायिक बक्सिङमा प्रतिबन्ध लाग्ने छैन् । डेको मृत्युपछि उनका प्रतिद्वन्द्वी कोनवेल पनि साह्रै भावविह्वल भए । हुन् पनि आफूले हराएका खेलाडीको मृत्यु हुन्छ भने त्यसबाट सिर्जना भएको परिस्थिति सहन सजिलो हुन्न । कोनवेलले भने पनि, ‘मैले त्यस भिडन्तमा चाहेको एउटै तथ्य जित थियो, त्यो जितको बदलामा डे फेरि फर्किन्छन् भने त्यसका लागि म हार्न तयार छु ।’
तर के गर्नु ? यी त सबै भावनात्मक कुरा न भए । बक्सिङ खेल्छु भन्नु आखिरमा आफ्नै मृत्युमा हस्ताक्षर गर्नु जस्तै त हो !
twitter : @himeshratna

कोसेली

किन लुकाउँछन् जन्ममिति ?

- लक्ष्मी लम्साल

 

गत जुन १५ मा पन्ध्रौं एसियाली आत्मविश्वास निर्माण मापदण्ड एवं अर्न्तक्रिया (सीआईसीए)को सम्मेलनका लागि चीनका राष्ट्रपति सी चिनफिङ ताजकिस्तानको राजधानी दुशान्बे पुगेका थिए । त्यस दिन बिहान अचानक रूसका राष्ट्रपति भ्लादिमिर पुटिन सी बसेको होटलमै आइपुगे र चीन–रसिया सम्बन्ध विकासमा गरेको योगदानको प्रशंसा गर्दै जन्मदिनको शुभकामना दिए । उनी जन्मदिनको उपहार, चिनियाँ विशेषतायुक्त केक र आइसक्रिमको बाकस बोकेर गएका थिए । सीले जवाफमा चिनियाँ चिया दिँदै भने, ‘भ्लादिमिर पुटिन चिनियाँ जनतामाझ निकै लोकप्रिय हुनुहुन्छ ।’
यसअघि सन् २०१५ को जुलाई १ तारिखका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ ट्वीटर मानिने ‘सिना वैपो’मा चिनियाँ प्रधानमन्त्री ली ख छ्याङलाई शुभकामना सन्देश लेखे । त्यतिखेर ली युरोपको भ्रमणमा थिए । मोदीले चीन भ्रमणका क्रममा टेम्पल अफ हेभनमा प्रधानमन्त्री लीसँग लिएको सेल्फी पनि राखेर बिहान ६ बजेतिर वैपोमा लेखे, ‘प्रधानमन्त्री ली खछ्याङ, जन्मदिनको शुभकामना र दीर्घजीवनको शुभेच्छा । गत मेमा भएको हाम्रो भेटवार्ता मैले सम्झिरहेको छु ।’
यो सन्देश सार्वजनिक भएपछि धेरै विदेशीहरूले पनि चिनियाँ प्रधानमन्त्री लीको जन्ममितिबारे थाहा पाए । चिनियाँ कम्युनिष्ट पार्टीको समाचार अनलाइनले धरी ‘ली ख छ्याङ, जन्मः सन् १९५५ जुलाई’ मात्रै लेख्ने गरेका बेला मोदीले पूरा मितिको खुलासा गरिदिए ।
प्रधानमन्त्री बनेपछि मोदीले आफ्नो ६४औं जन्मोत्सव मनाउन प्रथमपटक भारतको राजकीय भ्रमणमा निस्किएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई २०१४ सेप्टेम्बर १७ तारिख गुजरातमै निम्त्याएका थिए । गुजरातमा जन्मदिन मनाउँदै उनले भने, ‘सीसँग जन्मदिन मनाउनु निकै अर्थपूर्ण छ जुन अविस्मरणीय हुनेछ ।’
उपराष्ट्रपति छँदा सन् २०१० को जुन १४ तारिखदेखि सी चिनफिङ बंगलादेश, लाओस, न्युजिल्यान्ड र अस्ट्रेलियाको भ्रमणमा थिए । बंगलादेशको भ्रमण सकेर लाओस पुगेका बेला त्यहाँका नेताहरूले एउटा लञ्च कार्यक्रमलाई सी चिनफिङको जन्मोत्सव पार्टीका रूपमा रूपान्तरण गरिदिए । जन्मदिन मनाउनका लागि लाओस सरकार र नेताहरूले एउटा ठूलो ‘बर्थडे केक’ नै व्यवस्थापन गरेका रहेछन् । वरिपरि थुप्रै मानिसहरू भेला भएर ‘हृयाप्पी बर्थ डे’ गीत गुञ्जायमान गरिदिए । त्यतिखेर चकित हुँदै सीले भने, ‘यो निकै चलाखीपूर्ण काम होजस्तो लाग्छ । म चीनको ड्रागन बोट फेस्टिभलका दिन जन्मिएको थिएँ र आज त्यही दिन परेको छ ।’
चिनियाँ नेताहरूले आफ्नो बायोडाटामा जन्म वर्ष र महिना मात्रै लेख्ने तर पूरा मिति लेख्ने गरेका छैनन् । सी चिनफिङ १९५३ जुन, ली ख छ्याङ १९५५ जुलाई, हु चिन्थाउ १९४२ डिसेम्बर, वन च्या पाओ १९४२ सेप्टेम्बर, चु रोङचि १९२८ अक्टोबर भनेर लेख्ने गरिएको छ । पूर्व राष्ट्रपति च्याङ च मिनको मात्रै पूरा जन्ममिति भेटिएको थियो, १७ अगस्ट १९२६ ।
थाहा भएअनुसार चिनियाँ नेताहरू आफ्नो जन्मदिनको बारेमा खुलासा गर्दैनन् । चिनियाँ विदेश मन्त्रालयअन्तर्गत अनुवाद कक्षका पूर्व निर्देशक एवं स्विडेनका लागि पूर्व चिनियाँ राजदूत छन मिङमिङका अनुसार च्याङ च मिनको जन्ममिति राष्ट्रिय नेता हुनुअगावै सार्वजनिक भइसकेको थियो । जब राष्ट्रिय नेता भए, त्यसपछि सर्वसाधारणले नै जन्मदिन मनाइदिन थालेपछि लुकाउन सकिएन । मृत्यु भएका नेताको मात्रै पूरा मिति देखाउने प्रचलन चिनियाँमा देखिन्छ । जस्तै माओको जन्ममित १८९३ डिसेम्बर २६ र मृत्यु १९७६ सेप्टेम्बर ९ तारिख । तङ स्याओ फिङ जन्मः १९०४ अगस्ट २२ र मृत्यु १९९७ फेब्रुअरी १९ तारिख ।
चिनियाँ नेताहरू आफ्नो पूरा जन्ममिति किन खुलाउँदैनन् भन्नेबारेमा ठोस कारण छैन । छन मिङमिङ भन्छन्, ‘माओ र तङले उनीहरूको जीवनकालभरि पूरा जन्ममिति खुलाएनन् । यो व्यक्तिपूजा रोक्नका लागि हुनुपर्छ ।’
चिनियाँ नेताहरूले जन्मदिन मनाउन कडाइका साथ निषेध गरिएको छ । यो राजनीतिक अनुशासनका रूपमा प्रस्ताव गरिएको छ । यो प्रचलन माओकालदेखि नै चल्दै आएकाले पनि हुन सक्छ । त्यसयता राष्ट्रिय नेताहरूको राष्ट्रव्यापी जन्मदिन मनाउने प्रचलन छैन । केही मानिसहरू नेताहरूका जन्मदिन प्रयोग गर्दै व्यक्तिगत स्टाटस देखाउन खोज्छन्, चन्दा उठाउन सक्छन्, नकारात्मक गतिविधि गर्न सक्छन् । त्यस्ता कुरालाई रोक्न पनि यस्तो गरिएको हुनुपर्छ ।
चीन नेताप्रधान मुलुक हो । अगुवाले जे जस्तो गरेको छ, त्यसका अनुयायी धेरै हुन्छन् । जसरी अहिले अन्तरदेशीय वा घरेलु सानातिना कार्यक्रमलाई पनि बेल्ट एण्ड रोड इनिसियटिभ भन्ने शब्दावली थप्ने फेशन नै बनेको छ । ‘जन्मदिन मनाउनु व्यक्तिगत गतिविधि हो, यसलाई राजनीतिक बनाइनुहुँदैन,’ छन मिङमिङ भन्छन्, ‘स्टालिनले जन्मदिन मनाउँथे, माओले कूटनीतिक शिष्टाचारका लागि शुभकामना सन्देश त पठाउँथे तर आफैं भने कहिल्यै मनाउँदैन थिए ।’
पहिलेदेखि चल्दै आएको चलनबमोजिम चिनियाँ नेताहरूले जन्मदिन मनाएको सुनिएको छैन । उतिखेर सामन्ती राजतन्त्रकालमा जन्मोत्सव मनाउन उर्दी नै जारी गरिन्थ्यो । त्यस्तो नेपालमा पनि थियो । अहिले नेपालका सत्तासीन नेताहरूले पनि बेलाबेलामा केक काटेको फोटोहरू देख्न सकिन्छ । तर चिनियाँ नेताहरू यस्ता मामिलामा गुपचुप रहन खोज्छन्, बरू बाहृय नेताहरूका कारण उनीहरूको जन्ममितिबारे सर्वसाधारणले थाहा पाउँदै गएका छन् ।
केही समयअघि पिपुल्स डेलीको वीच्याट अकाउन्ट मिररले एसिया–युरोपको डिसेम्बर संस्करणमा प्रधानमन्त्री ली ख छ्याङको जुलाई १ तारिखका दिन पर्ने जन्म दिनमा कजाखस्तानका प्रधानमन्त्री मासिमोभले शुभकामना दिएको समाचार प्रकाशित गर्‍यो । सन् २०१३ को जुन १५ मा पनि कोरियन नेता किम जोङ उनले सीको ६० औं जन्मदिवसको उपलक्ष्यमा शुभकामना पठाएको कुरा त्यहाँका मिडियाहरूले सार्वजनिक गरे । अन्ततः चिनियाँ राष्ट्रपतिको जन्मदिन पनि सार्वजनिक भयो, तर त्यो बाहृय नेताहरूका कारण ।
गत वर्ष अप्रिल पहिलो साता चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय अनुशासन अनुगमन आयोगले आफ्ना पार्टी कार्यकर्ताहरूलाई वर्षमा दुई वटा जन्मदिन मनाउन सूचित गर्‍यो । एउटा उनीहरू भौतिक रूपमा जन्मेको दिन र अर्को पार्टीमा प्रवेश गरेको दिन । यो निर्देशानुसार ‘राजनीतिक जन्मदिन’ ले कम्युनिष्ट पार्टीका सिद्धान्त र प्रतिबद्धता पुनःस्मरण गर्न सहयोग पुग्नेछ । तर यो दुईथरी जन्मदिन सर्वसाधारणका लागि भने होइन । आयोगले यस कदमबाट राजनीतिक जीवनमा सकारात्मक ऊर्जा थपिने विश्वास लिएको बताएको छ ।
चीनमा कम्युनिस्ट पार्टी प्रवेश पनि चानचुने परीक्षा होइन । पार्टीको महत्त्व दर्साउन पनि जन्मदिनको विशेषण लगाएर सानो काम गरिएको होइन भन्ने दृष्टान्त दिन खोजिएको हुन सक्छ । राष्ट्रपति सी चिनफिङले पनि त्यति सजिलै पार्टी सदस्यता पाएका थिएनन् । कुनै पनि सदस्यले कडा मेहनतपछि मात्रै पार्टी प्रवेश गर्न सक्छ । त्यसको लागि पारिवारिक पृष्ठभूमि, शैक्षिक योग्यता, एक वर्षसम्म पार्टी विधानको अध्ययन र परीक्षा पास भएपछि मात्रै सदस्य बन्न योग्य वा अयोग्य भनेर फैसला गरिन्छ ।
माओ वा अन्य पूर्व नामी नेताहरूको जन्म वा मृत्युका बेलामा नेपालका वामपन्थी नेताहरूले पनि सन्देश पठाइरहेका हुन्छन् । विश्वका अन्य देशबाट पनि यस्ता सन्देशहरू प्राप्त हुन्छन् । अलिअलि गर्दागर्दै चिनियाँ शीर्ष नेताहरूको जन्ममितिबारे खुल्दै गएको छ । तैपनि जन्ममिति आएको गएकोबारे न त नेताहरूले वास्ता गर्छन् न त चिनियाँ सर्वसाधारणले नै चाल पाउँछन् । यस्तो बेलामा कुनै विदेशी नेताले यी नेताप्रति जन्मदिनको शुभकामना सन्देश पठाएर आत्मीयता देखाउन खोज्यो भने पनि ‘हाँसको बथानमा बकुल्ला’ हुने सम्भावना हुन्छ ।
[email protected]

Page 24
कोसेली

लोप भइरहेको पुस्तक संसारको आख्यान

विश्वभरि एउटा असजिलो त्रास व्याप्त छ । भन्ने गरिन्छ, मानव उत्पत्तिको उद्गमपछि पहिलो चोटि यति तीव्र गतिले मानव समवेदनाको ह्रासको प्रक्रिया शुरु भइसकेको छ । यो पनि भनिन्छ, हाम्रा संवेदनाको समृद्धिका सूत्रधार पुस्तकहरूको संसार पनि लोप हुने स्थितिमा छन् र पुस्तकलाई प्रवर्द्धन गर्ने संस्थाहरू विशेष रुपले स्वतन्त्र, ससाना निजी पारिवारिक पसल र उनीहरूसित सम्बन्धित स्थल फटाफट लोप भइरहेका छन् । तैपनि केही वर्षयता केही अदृश्य कारणहरूले गर्दा पश्चिमेली संसारमा किताब पसलले अचानक एउटा देवस्थलजस्ता हैसियत आर्जन गरिसकेका छन् ।


गत वर्ष मैले जर्मनीको पुरानो विश्वविद्यालय नगर हाइडलवर्गको एउटा सानो किताब पसलमा कविता पाठ गर्दा यस्तो अनुभूति पाएको थिएँ । चर्चित जर्मन उपन्यासकार निकोल इकहार्टले सो कार्यक्रम आयोजना गरेका थिए । त्यहाँ पुग्नु एक महिनाअघि नै उनले मलाई त्यस कार्यक्रमको गाइडलाइन पठाएका थिए । कवितापाठको विषय नै किताब पसल र पुस्तकालयहरू हुने निधो गरिएको थियो । कविता पाठका लागि यो विषय मलाई निकै असजिलो लागेको थियो । हामीकहाँ कवितापाठ अति उच्चस्तरीय विषयवस्तु र कदममाथि केन्द्रित हुने गरेकाले मैले यस्तो विषयमाथि कविता वाचनको औचित्यबारे प्रश्न गरेको थिएँ । कुनै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमाथि मात्र केन्द्रित गर्न अनुरोध गरेको थिएँ । निकोलले कार्यक्रममा किताब र पुस्तकालयमाथि केन्द्रित गर्न पुनः आग्रह गरेपछि मैले यस विषयमा कलम कोरेको थिएँ ।
इकहार्टका लागि नेपाल कुनै अपरिचित ठाउँ होइन । दुई दशकअघि नै उनले चर्चित पत्रिका ‘डर फर्युन्ड’ को स्थापना काठमाडौंमा गरेका थिए । उनी नेपालमा गरेको अवतरणको सम्झना अति अविस्मरणीय रहेको बताउँछन् । हवाइजहाज काठमाडौं उपत्यकामा प्रवेश गर्नेबित्तिकै देखिएको मनोरम परिदृश्यको रोमाञ्चित क्षण उनले कहिल्यै बिर्सन सकेका छैनन् । ‘मैले यस्तो अद्भूत एयरपोर्ट कहिल्यै देखेको थिइनँ,’ उनले भनेका थिए । हवाइजहाजबाट बाहिर निस्केपछि उपत्यकालाई घेरेका हिमशृंखलालाई नियाल्दा उनी मन्त्रमुग्ध भएका थिए । विश्वको कुनै पनि राजधानीको विमानस्थलमा यस्तो दृश्य हेर्न सकिँदैन ।


त्यस रात इकहार्टले वसन्तपुरको फ्रिक स्ट्रिटस्थित होटल सुगतमा चेकइन गरेका थिए । ब्रेकफास्ट गरेपछि उनलाई जीवनभरि देखेको एउटा अन्तर्राष्ट्रिय साहित्यिक पत्रिका निकाल्ने सपना साकार गर्ने समय आएको जस्तो लागेको थियो । उनले सुगत होटलको साहुजीलाई भेटेर लामो समयका लागि एउटा अफिस भाडामा लिन प्रस्ताव राखेका थिए । माथिल्ला दुईवटा कोठाको बीचको पर्खाल भत्काएर पत्रिकाका लागि उपयुक्त हुने अफिस बनाएर ‘डर फर्युण्ड’ को स्थापना उनका मित्र प्रसिद्ध जर्मन उपन्यासकार क्रिस्चियन कराचसित मिलेर गरेका थिए । पछि गएर यो पत्रिका जर्मन साहित्यको इतिहासमा एउटा महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित भएको थियो ।


सन् २००९ को हाराहारीमा उनीसितको मेरो भेट निकै महत्त्वपूर्ण सिद्ध भएको थियो । किनकि त्यसबेला म पहिलोचोटि नेपालबाट बाहिर जाने तरखरमा थिएँ । एउटा असल मित्र स्रष्टाझैँ इकहार्टले मलाई निकै हौसला दिएका थिए र मैले नचिनेको अञ्जान गन्तव्यतिर हिँड्ने त्रास उनलाई भेटेपछि हराएको थियो । यो रुपमा बाँच्नु कसरी ? कति पैसा चाहिन्छ होला एक दुई हप्ता बस्दा ? त्यहाँ खानेकुरा कति महँगो छ ? के खान्छु होला म ? त्यो मेरो फ्रयान्कफ्रर्ट पुस्तक मेला जाने प्रथम तरखर थियो । उनले भनेका थिए, ‘चिन्ता नगर्नू तपाईंको स्वागत हुनेछ, डराउनु पर्दैन अनेकौँ रिसेप्सनहरू हुन्छन् त्यहाँ । खाने खर्चको चिन्ता लिनुपर्दैन । तपाईंको लेखनले त्यहाँका मानिसको मन जित्नेछ ।’ त्यसमाथि उनले केही दिनका लागि फ्रयांकफर्टमा रहेका उनका साथीहरूसित परिचय गराएर त्यहाँ बस्ने व्यवस्था पनि मिलाइदिएका थिए ।


हाइडलवर्गको सानो पसलमा राखिएको कविता पाठ कार्यक्रम निकै सफल भएको थियो । मैले राणाकालदेखि किताबको स्थिति र पछिको प्रकाशनको विकासमाथि कुरा गरेर गोपालप्रसाद रिमालको जीवन संघर्ष र कविहरूको भाग्यमाथि कुराकानी गरेँ । इकहार्टले काठमाडौँमा पत्रिका निकाल्ने प्रकरणमाथि र त्यससित सम्बन्धित यात्रामा आधारित पुस्तकबाट केही अंश पढ्नाका साथै किताब र त्यससित सम्बन्धित संस्थाहरूको निर्माण रचनात्मक ऊर्जाको अभिन्न अङ्ग रहेको तथ्यमाथि जोड दिएका थिए । उनको भनाइअनुरूप हाल केही वर्षयता विश्वभरि नै किताब र किताब पसलप्रति अनाकर्षण देखिन्छ । कर्पोरेट हाउसहरूको जगजगी भएको विलिनेयरहरूले संसारको अर्थव्यवस्थामाथि आफ्नो पकड मजबुत गर्ने प्रयासमा ससाना बिजनेस र संस्थाहरू कुडादानमा फ्याँकिरहेको देखिन्छ । हलउडले पनि ‘नटिङ हिल’, ‘यु ह्याभ गट मेल’ र ‘बिफोर सनसेट’ जस्ता चलचित्रमा पुस्तक संसारको कुरा उठाएको छ ।
कुनै बेला अमेरिका र विश्वको सांस्कृतिक केन्द्र मानिने न्युयोर्कको ग्रिनेच भिलेज बीसौँ शताब्दीको संस्कृति र राजनीतिलाई प्रभाव पार्न सक्ने शक्ति केन्द्रका रूपमा रहेको थियो । यो अहिले ‘जेन्ट्रफिकेसन’ को कुप्रभावअन्तर्गत अत्यधिक महँगो रेजिडेन्सियल एरिया बनेको छ । लेखक र कलाकारहरूलाई भिलेजबाट निष्कासित हुन बाध्य बनाइएको छ । यो कुनै आश्चर्य होइन, हाल धेरैजसो लेखक, कलाकार बुक्रलिनको ससाना शहरतिर सरेका छन् । बुक्रलिन ‘नयाँ वेस्ट भिलेज’ बनेको छ, एउटा नयाँ सांस्कृतिक टापु । न्युयोर्कमा एक दशकभन्दा बढी समयदेखि भ्रमण गरिरहँदा मैले अनेकौँ पुस्तक पसल र अन्य सम्बन्धित सांस्कृतिक पसलहरू बन्द भइरहेको देखेको छु । गत वर्ष चर्चित पुस्तक पसल सेन्टमार्कस बन्द भयो भने ओर्क लेखक, गीतकार र कलाकारहरूको प्रिय स्थल मानिने कोर्निलिया स्ट्रिट क्याफे पनि बन्द भयो । लेखकहरूको स्वर्ग मानिने चार दशक पुरानो यस रचनास्थलको क्याफेको भुइँतलामा रहेको स्टेजमा नोबेल पुरस्कार, विजेता रोल्द होफ्फमन, सुजान वेगा, ओलिवर साक्स, युजिन मचकार्थी, विलियम कुशनरजस्ता हस्तीहरूले नियमित प्रस्तुति दिएका थिए । इव अन्स्लरले आफ्नो चर्चित ‘भजाइना मोनोलोग’ यहीँ नै पहिलो चोटि पढेका थिए । गत वर्ष मैले ‘प्रतीक’ पत्रिकाको शीतकालीन अंकको विमोचन पनि यहीँ नै गरेको थिएँ । अनेकौँ पुस्तकहरूको विषयवस्तु बनेको यो क्याफे चर्चित उपन्यासकार एरिका जोगको ‘फियर अफ फ्लाइङ’ र अन्य अनेकौँ विश्व प्रख्यात जज सङ्गीतकारहरूको विकासमा साझेदारी राखेको भेटिन्छ ।


यही वर्ष न्युयोर्कबाट नेपाल आउने दिन म प्रसिद्ध वाइट होर्सेज बार पनि बन्द हुने समाचार सुन्दा अति दुःखी भएको थिएँ । मेरो अमेरिकाको प्रथम भ्रमणमा नै म ग्रिनेच भिलेजको बैंक स्ट्रिटमा बस्न पाएको थिएँ जो यस बारको निकै नजिक छ । मेरो न्युयोर्कमाथि लेखेको ‘ए वलिजिड्ज इनमाई बोन्ज’ (हिउँहुरी मेरा हाडहरूमा) यही भिलेजको वरिपरिको ऐतिहासिक स्थलको पृष्ठभूमिमा केन्द्रित छ । विश्वप्रख्यात कवि डिलन थमसले आफ्नो जीवन यही वाइटर्हसज बारमा बिताएका थिए । विट कविहरूसितको सम्बन्ध र कार्यभार साझा गरेका थिए । यस्ता स्थलमा रक्सी खाएर कविता पाठ गर्दै उनको अवसान भएको थियो र पछि उनी एउटा लेजेण्ड बनेका थिए ।

मेरो विश्व भ्रमणका दुई दशकमा किताब पसलहरूमा भएका कविता पाठहरू मेरो बाँच्ने आधार बनेका थिए । लण्डनको पहिलो भ्रमणमा मैले चेरिङक्रस रोड र वेस्ट एन्डको छेउछाउमा रहेका दर्जनौँ ससाना पुस्तक पसलहरूमा अधिकांश समय बिताएको हुँ । फोयलज बुक स्टोर मेरो प्रियस्थल बनेको थियो र अधिकांश लेखन त्यस पुस्तक पसलको क्याफ्टेरियामा नै गरेको तथ्य म सम्झन्छु । त्यसैगरी पेरिसको पुस्तक पसल शेक्सपियर एन्ड कम्पनीले पनि मेरो जीवनमा युरोपेली संसारमा पस्न निकै मद्दत पुर्‍याएको थियो । यो पसल सफलतापूर्वक चलिरहेको छ । प्रसिद्ध ऐतिहासिक स्थल नोट्रेडेमको ठीक बायाँतिर रहेको यो पुस्तक पसल विश्वको साहित्यिक इतिहासमा एउटा प्रमुख स्थल मानिन्छ । नाम चलेका प्रायः सबैजसो साहित्यकारले यहाँ पुगेर पाठ गरेको पाइन्छ । अर्नेस्ट हेमिङ्वेले आफ्नो संस्मरण ‘ए मुवेबल फिस्ट’ मा आफ्नो प्रारम्भिक कालका संघर्षका दिनहरूमा यस पुस्तक पसल र यसकी मालिक्नी सिल्भियाबाट प्राप्त आर्थिक सहयोगको कुरा विस्तृत रुपमा गरेका छन् । हेमिङ्वेले पेरिसमा आफ्नो बसाइ र निर्धनताको चित्रण अति मार्मिक ढंगले गरेका छन् । पेरिसका गल्लीहरूमा भोको पेट हिँड्दा त्यहाँका रेस्टुरेन्टहरूबाट आएको स्वादिष्ट खानाको बास्नाको वर्णन गर्दा मेरो आँखाबाट आँसु झरेको थियो । दयालु दाता सिल्भियाले केही पसलसम्बन्धी काम अह्राएर उनलाई आर्थिक सहयोग गरेपछि उनी अमेरिकी नोबल पुरस्कार विजेता तथा सफल लेखक बनेका थिए ।


किताब पसलहरू कुनै पनि घुमन्ते लेखकका लागि एउटा ऊर्जा पम्पझैँ रहेका छन् भन्ने कुरा मैले भ्रमण गर्ने क्रममा थाहा पाएको हुँ । सेक्रामेन्टोको टावरबुक्स र टाइम टेस्टिङ बुक्स, कलिभलयण्डको मैकस वैकस बुक्स, बेइजिङको बुकवार्म, एम्स्टर्डामको वाटर स्टोनज र अमेरिकन बुकशप, बोस्टनको गऐलियर बुकशप, डबलिनको बुक्स अपस्टेयरज, फ्र्यांकफर्टको हुगनदुब्ल बुक्स सप, लस एन्जेलसको वियान्ड बारोक इत्यादि पुस्तक पसल मेरा घुमन्ते साहित्यिक जीवनको आधारशिला नै बनेको जस्तो मलाई लाग्छ । सन फ्रान्सिस्कोमा कवि लारेन्स फर्लन्यङ्हिटीको सिटिलाइट बुक्स अमेरिकी साहित्यको धरोहर नै मानिन्छ ।


यस अर्थमा पुस्तकहरू कुनै पनि देशको चेतनाको मानचित्र हुन् भन्न सकिन्छ । कुनै पनि राष्ट्रको परिदृश्य त्यहाँ भएको सांस्कृतिक चेतनाबाट निर्धारित गरिन्छ । तीन दशकअघि काठमाडौंमा बस्दा मैले चिनेको काठमाडौँं त्यहाँ भएका पुस्तक पसलबाट नै हो । मेरो पहिलो संग्रह ‘ए प्रेयर इन डेलाइट’ भर्खर प्रकाशन भएको थियो । त्यसबेलाको काठमाडौंको सम्झनाले मेरो मस्तिष्कमा एउटा स्थायी छाप छाडेको छ । घन्टाघरको हिमालयन पुस्तक पसल, असनको रत्न पुस्तक भण्डार, महाकालको एजुकेसन बुकस्टोर, पुतलीसडकको पैरवी पुस्तक पसल, विमल निभाको नयाँ सडकको साहित्यघर, थापाथलीको एकता बुक सप इत्यादि ल्यान्डमार्कहरूको मानचित्र बोकेर म अहिले पनि मेरो ३७ सालतिरको काठमाडौंको सम्झनालाई लिएर धुवाँ र धुलोले घेरिएको सहरमा हिँडिरहेको आफूलाई पाउँछु ।


ठमेल क्षेत्रमा त्यस बखत तीन चार ससाना पुस्तक पसल मात्र देखेको थिएँ जहाँ मेरो अनुरोधमा साहुजीले मेरो प्रथम पुस्तक त्यहाँ राखिदिएका थिए । मलाई लाग्छ यी पुस्तक पसलहरू नभएको भए म कहिल्यै कवि बन्ने थिइनँ । पछि गएर ठमेलको पुस्तक पसलको विस्तारले मलाई लेखक भएर पनि बाँच्न सकिन्छ भन्ने महसुस गराएको थियो । पोखरा जाँदा त्यहाँका ससाना पसलहरूले गर्दा नै म निरन्तर अन्नपूर्णतिर जान थालेको हुँ र अहिले त्यहाँको अलौकिक चकमन्नता मेरो लेखनमा उतार्न सकेको छु ।


दुई दशकयता काठमाडौं एसियाको सबैभन्दा बढी पुस्तक पसल हुने सहरको ख्यातिबाट पनि सुशोभित भइसकेको हो । गत दशकमा काठमाडौं सबैभन्दा बढी पुस्तक पसल भएको सहरका रूपमा चिनिने भएकाले यसले एउटा विश्वका उच्चतम ठाउँमा रहेको अद्भूत सहरका रूपमा नाम कमाएको थियो । यस दशकमा भने वातावरण विनाश र अनियन्त्रित सहरीकरणले गर्दा राजधानीको उज्ज्वल विम्ब दूषित भएको छ । त्यसका साथै वर्तमान सरकारले किताबमाथि कर लगाएर विश्वकै उचाइमा रहेको सर्वाधिक आकर्षक प्राचीन सहरको मनोरम छविलाई धमिल्याएको छ । यो सत्य हो– नेपाल पाइरेट, नक्कली र चोरिएका पुस्तकहरूको स्वर्ग बनेकाले, पुस्तक व्यवसायमाथि नियन्त्रणको आवश्यकता छ तर सम्पूर्ण किताब जगत्माथि कर लाग्नु निकै आश्चर्यलाग्दो हो जसले राणाकालको सम्झना दिलाएझैँ लाग्छ ।


विश्वमै किताबको साम्राज्य लोप हुने बेला एसियाको सर्वाधिक युवा गणतन्त्रबाट किताब जगत्माथि यस्तो व्यवहार हुन अति अशोझनीय छ ।

युयुत्सु आरडी शर्मा
[email protected]

कोसेली

नयाँ जमाना, नयाँ काम !

 

दसैं बिदामा गाउँ खल्लाजयपुर बर्दिया पुगे पनि दुई/चार दिनमै फोटो खिच्ने हुटहुटी सुरु भइहाल्यो । क्यामेरा बोकी गाउाकै साथी अमर थापाको मोटरसाइकलमा राजापुर बजारतिर लागियो । कुनै समयमा पश्चिमकै प्रख्यात बजार राजापुरमा कसो केही नपाइएला भनेर म उतै लागेको थिएँ । तर त्यस्तो हुन सकेन । मैले केही सामान्य फोटोमात्र खिच्न पाएँ । त्यसपछि हामी आसपासका गाउातिर छिर्‍यौं ।
शान्तिपुर पुग्दा साथीले मोटरसाइकलको तेल सकिन लागेको बताए । हामी नजिकैको पेट्रोल पम्पमा पुग्यौं । पेट्रोल पम्प अरुजस्तै थियो । तर, यसमा एउटा कुरा भने फरक थियो । हामी पेट्रोल हाल्न कुर्दै गर्दा एकजना महिला कति लिटर तेल हाल्ने सोध्दै हामीतिर आइन् ।


मैले यसअघि कुनै पनि पेट्रोल पम्पमा महिलाले पेट्रोल हाल्ने काम गरेको देखेको थिइनँ । हुन त पछिल्लो समय सैनिकदेखि सार्वजनिक सवारीका चालकसम्मका पेसामा महिलाहरुलाई देख्न पाइन्छ । तैपनि, परम्परागत रुपमा महिलालाई कमजोर ठानेर ‘जोखिम’ का काममा नलाइलगाइने भएकाले हो, पेट्रोल पम्ममा महिलाहरुले रोजगार गरेको देखिएको थिएन । उनले बाइकमा पेट्रोल भर्न थालिन् । यो दृश्यको मैले फोटो नखिच्ने कुरै थिएन । उनी हुन्– बर्दिया राजापुर नगरपालिका शान्तिनगरकी २४ वर्षीया गीता चौधरी । उनी तेल हाल्दै गर्दा उनका पति अनिल जैसी छेउमै काखे भतिजो खेलाउादै थिए । कुरा गर्दा थाहा भयो, यो पम्पका सञ्चालक नै यी दम्पती रहेछन् । उनले आफूले यसरी तेल हाल्न थालेको दुई वर्ष भएको बताइन् । यी दम्पतीले आफूबाहेक अन्य दुईजनालाई पनि रोजगार दिएका छन् ।


‘आफ्नै पम्प भएकाले म बेलाबेला तेल हालेर पनि सघाउँछु,’ गीताले भनिन्, ‘सामान्यभन्दा अलि फरक काम गर्न रुचाउने भएकोले नै मलाई पनि यो काम रमाइलो नै लाग्छ ।’ उनले भनिन्, ‘हाम्रो पम्पमा तेल हाल्न आउने प्रायः मान्छेले मैले तेल हालेको देखेर अचम्मै मान्छन् ।’

प्रकाशचन्द्र तिमिल्सिेना