You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

लिपुलेकमा पस्नै पाउँदैनन् नेपाली

- मनोज बडू
भारतीय पक्षले अतिक्रमण सुरु गरेको नेपाली भूमि गुञ्जी क्षेत्रस्थित महाकाली नदीमा मिसिँदै लिपुखोला । भारतले यही लिपुखोलालाई काली नदी भन्दै आएको छ । नदीदेखि बायाँतिर भारतले नेपाली भूमिमा बनाएका सुरक्षा क्याम्पहरू । यहाँ भारतीय सेना, सीमा सुरक्षा बल र भारत–चीन सीमा सुरक्षा प्रहरी बसेका छन् । तस्बिर ः मनोज बडू/कान्तिपुर

(दार्चुला) - लिपुलेक र कालापानी क्षेत्रमा भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आए पनि सरकारले चासो नदिएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।
राज्यकै सामरिक महत्त्व बोकेको यो भूमिलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा राखेपछि फिर्ता हुने सम्भावना घट्दै गएको उनीहरूको भनाइ छ । उक्त क्षेत्रमा हाल नेपालीलाई भारतीय सुरक्षाकर्मीले पस्नै नदिएको स्थानीय दानसिंह
तिंकरीले बताए । ‘६० सालपछि भारतले हामीलाई पस्नै दिएको छैन’, उनले भने, ‘अहिले चीनसित व्यापार गर्न तिंकर भञ्ज्याङको नाका प्रयोग गर्नुपरेको छ ।’ पचासको दशकसम्म नेपाली र भारतीयले लिपुलेकबाटै चीनको ताक्लाकोटसित व्यापार गर्ने गरेका थिए । तर माओवादी द्वन्द्व चर्किएको बहानामा भारतीय पक्षले उक्त क्षेत्रमा नेपालीलाई प्रवेशमा कडाइ गरेको हो ।

भारतले रणनीतिक हिसाबले विकास गर्दै आएको नेपाली भूमि फिर्ता गराउन सजिलो नदेखिएको स्थानीय रघुवीरसिंह ठगुन्ना बताउँछन् । ‘पहिल्यैदेखि पूर्वाधार बनाइरहेको थियो, अब आफ्नो नक्सामै पारेपछि हडप्ने देखियो,’ उनले भने । यो वर्ष मात्र उक्त क्षेत्रमा भारतीय पक्षले चार हजारको हाराहारीमा सैनिक बढाएको उनले बताए । लिपुलेकसम्म भारत र चीनले सडक पुर्‍याएको अवस्था छ । भारतले गुञ्जीबाट नेपाली भूभाग प्रयोग गर्दै आएको छ । गुञ्जीबाट कालापानी ९ किलोमिटरको दूरीमा पर्छ । गुञ्जीदेखि लिपुधुरा (लिपुलेक) सम्म उक्त क्षेत्रमा भारतीय पक्षले भारतीय सेना, सशस्त्र सीमा बल र भारत–चीन बोर्डर पुलिसलगायत सुरक्षाकर्मी बसालेको छ ।
एक दशक अघिदेखि भारतले धारचुलादेखि लिपुलेकसम्म मानसरोवर मार्ग भनेर दुई लेनको सडक निर्माण गर्दै आएको छ । छियालेकदेखि लिपुलेकसम्मको भागमा सडकको ट्र्याक खोलिसकेको छ । त्योभन्दा तल्लो क्षेत्रमा निर्माण कार्य तीव्र भइरहेको स्थानीय बताउँछन् । सन् २०२० सम्म सडक पूर्वाधार सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । कालापानीबाट नजिकको नेपाली बस्ती छाङरु गाउँ १६ किमि दूरीमा पर्छ । त्यहाँ शौका समुदायको बसोबास छ । नजिकको गागा क्षेत्रमा नेपाल प्रहरीचौकी छ तर न सडक पूर्वाधार र न त निगरानीका साधनस्रोत छन् । बाटै नभएकाले भारतीय पक्षले उक्त क्षेत्रमा गरिरहेको अतिक्रमणको निगरानी गर्न नसकिने प्रहरी बताउँछन् ।
सुगौली सन्धिअनुसार नेपाल र भारतको सीमा काली नदी हो । भारतले ३० किमिपूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ भन्न थाल्यो र त्यसदेखि पश्चिमको भूभाग अतिक्रमण सुरु गर्‍यो । वास्तविक काली नदीलाई भारतले ‘कुटियन्ती’ भन्न थाल्यो । नेपालले कालापानी र लिपुलेकको स्वामित्व दाबी गर्दै आए पनि लिम्पियाधुरा भने चुपचाप त्यागिदिएको थियो । भारतले कुटियन्ती भन्दै आएको नदीलाई नयाँ नक्सामा काली लेखेको छ । कालापानी–लिपुलेकको क्षेत्रफल ६२ वर्गकिमि छ । लिम्पियाधुराको ३ सय १० वर्गकिमि भारतले यसअघि नै कब्जा गरिसकेको छ ।
जानकारहरूका अनुसार सन् १९६२ मा भारत–चीन युद्ध हुँदा नेपालका तत्कालीन राजा महेन्द्रले कालापानी भारतलाई प्रयोग गर्न दिएका हुन् । त्यसपछि भारतले त्यहाँबाट आफ्नो सैनिक कहिल्यै फिर्ता गरेन । युद्ध अवधिभरका लागि भनेर आएको भारतीय सेना त्यसयता स्थायी रूपमै बस्न थाल्यो । लिपुलेक नेपाल–भारत–चीन त्रिदेशीय सीमा नाका हो तर नेपालतर्फको भूभाग दशकौंदेखि भारतको नियन्त्रणमा छ । भारतीयहरूले चीनसँग व्यापार गर्नका लागि उक्त नाका प्रयोग गर्छन् । आफ्नो भूभागभन्दा चीनसित व्यापार गर्न सहज हुने भएकाले यो नाकालाई विगतदेखि भारतले प्रयोग गर्दै आएको स्थानीय बताउँछन् ।
भारतले हाल जारी गरेको नक्सा पछिल्लो पाँच दशकदेखिको निरन्तरता हो तर कालापानीमा भारतले आफ्नो सेना राखेको ५७ वर्ष बित्यो भने लिपुलेक हत्याएको समेत चार वर्ष पुगिसक्यो । नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्ने भूभागलाई भारतमा गाभिएको छ । सीमामा भारतले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय मूल्यमान्यताविपरीतका गतिविधि गरिरहनुमा त्यस क्षेत्रमा राज्यको उपस्थिति नै नहुनु प्रमुख कारण रहेको स्थानीय रघुवीरसिंह ठगुन्ना बताउँछन् । ‘सीमामा भारतीय पक्षको मनपरी रोक्न न हाम्रो बसोबास छ न त सुरक्षा निकायको उपस्थिति । यसैको फाइदा भारतीय पक्षले लिइरहेको छ,’ उनले भने, ‘त्यस क्षेत्रमा रहेका नेपाली नागरिकसमेत भारतीय पक्षको दबाबमा रहनुपर्ने बाध्यता भएकाले सीमा सुरक्षा तथा नागरिकका पक्षमा राज्यको सक्रियता चाहिएको छ ।’ आफ्नो सीमामा नेपाल प्रहरी प्रशासनको उपस्थिति नरहेको उनले बताए । भारतबाट अतिक्रमित र त्रिदेशीय सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनमा केन्द्र सरकारले उपेक्षा गरेको हो । त्यस क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति त परै जाओस्, स्वदेशमै पैदल मार्गसमेत नहुँदा भारतीय मार्ग प्रयोग गर्नॅपर्ने बाध्यता रहेको उनले बताए ।
पाँच वर्षअघि दार्चॅलामा सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म स्थापना भएको थियो । त्यो बेला नै सशस्त्र प्रहरीको पोस्ट सदरमुकाम होइन, ब्यास क्षेत्रमा बस्नुपर्ने कुरा उठेका थिए । सरमुकाममा गुल्म स्थापना गर्ने र त्यसपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बीओपी राख्ने कुरा उठे पनि कार्यान्वयन नभएको ठगुन्नाले बताए । ‘त्यतिबेला नै सदरमुकाममा नेपाल प्रहरी भए पुग्छ, सेनालाई समेत सीमा क्षेत्रमा सार्नुपर्छ भनेका हौं,’ उनले भने, ‘अहिलेसम्म नेपाल प्रहरीको ६ महिना उपस्थितिबाहेक सरकारले खासै ध्यान दिन सकेको छैन ।’ जिल्लामा आउने केन्द्रीयस्तरका नेतादेखि सुरक्षा निकायका माथिल्ला दर्जाका अधिकारी आएका बेला स्थानीयले ब्यास क्षेत्रमा सुरक्षाको उपस्थिति बढाउनुपर्ने र तिंकर नाकासम्म सडक सञ्जाल जोड्नुपर्ने माग प्रमुखतासाथ अगाडि सार्छन् । नेता र अधिकारीहरूको आश्वासन दिने तर काम नगर्ने प्रवृत्तिले यो क्षेत्र राज्यको सम्पर्कबाहिर पर्दै गएको स्थानीयको बुझाइ छ ।
भारतद्वारा अतिक्रमणमा परेको क्षेत्र ब्यास गाउँपालिका–१ मा पर्छ । ब्यासका स्थानीयले सदरमुकामसम्म आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने हुँदा यस विषयमा बोल्न मान्दैनन् । भारतले अतिक्रमण गरिसकेको भन्दा वरतिर पर्ने नेपाली भूभागमा जानसमेत भारतीय प्रशासनसँग पास लिनुपर्ने अवस्था छ । स्वदेशी भूमिबाट बाटो नहँॅदा ब्यास क्षेत्रमा जान यहाँका स्थानीयले भारतीय प्रशासनले पास दिएपछि आफ्नो गाउँसम्म पुग्न पाउँछन् । नेपाली गाउँमा नेपाली नुन पुग्दैन । छाक टार्ने चामल र पिठो भारतीय बजारबाट ल्याउनुपर्छ । चार हजार मिटरको उचाइमा भत्केको घरमा बिनाबन्दोबस्ती प्रहरीचौकी छ । प्रहरीले ६ महिनाको रासन र लत्ताकपडा एकैचोटि लैजानुपर्छ । सदरमुकामसँगको सम्पर्क विगत एक वर्षदेखि पूर्ण रूपमा टुटेको छ ।
ब्यास क्षेत्रमा जान नेपालतर्फ भरपर्दो बाटो नहुँदा नजिक बसेका शौकाहरू भारतीय भूमि प्रयोग गर्न बाध्य छन् । कुञ्चा सर्ने क्रममा भारतमा विभिन्न किसिमका दुर्व्यवहार भोग्न बाध्य हुनुपरेको भन्दै स्थानीय दुःख व्यक्त गर्छन् । यहाँका स्थानीय एक हप्तापछि भारतको बाटो भएर हिमालबाट तल बेंसी सदरमुकाम खलंगा सर्ने तयारी गरिरहेका छन् । यही समयमा नक्साको कुरा उठेपछि आफ्नो बसाइँसराइमा भारतीय पक्षको अवरोध हुन सक्ने चिन्ता व्यक्त गरिरहेका छन् ।
भारतीय प्रशासन एसडीएम कार्यालयले जारी गरेको बहुयात्रा अनुमतिपत्र (पास) छियालेकमा देखाएर मात्र त्यहाँबाट अगाडि जान पाइन्छ । छियालेकमाथिको क्षेत्र अनुमतिबिना अनुबन्धित स्थान हो । त्यसकारण अघिल्लो सीमाचौकी सीतापुलमा त्यसै पासलाई देखाएर नेपाल प्रवेश गर्न मिल्छ । मानिसहरूलाई त्यहीले हुने र पशुहरूलाई अर्को पास बनाउनुपर्दा झन् झन्झटिलो हुने गरेको स्थानीय बासुसिंह ऐतवालले बताए । उनका अनुसार नेपालको पशु क्वारेन्टाइनले नेपाली पशु स्वच्छ रहेको सिफारिस दिएपछि मात्र भारतले यात्राको स्वीकृति दिन्छ ।

मुख्य पृष्ठ

ई–पासपोर्ट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र रद्द

अन्तिम घडीमा प्रधानमन्त्रीको निर्देशन
- देवेन्द्र भट्टराई

(काठमाडौं) - मुलुकभित्रै सुरक्षा मुद्रण प्रेस स्थापना प्रक्रिया अघि बढाउने भन्दै ५० लाख ई–पासपोर्ट छाप्न परराष्ट्र मन्त्रालयले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अन्तिम घडीमा आएर सरकारले रद्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा बोलपत्र प्रक्रिया बिहीबार राति रद्द गरिएको हो ।
बोलपत्र रद्द गर्नेबारे बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) पछि नेपाल आगामी असार महिनादेखि ‘ई– पासपोर्ट’ मा जाने भएपछि नयाँ पद्धतिको पासपोर्ट छपाइका लागि गत भदौ १० मा परराष्ट्र मन्त्रालयको राहदानी विभागले बोलपत्र आह्वान गरेको थियो । सुरुको ४५ दिने बोलपत्रको म्याद टुंगिएपछि २२ दिन र त्यसपछि ७ दिनका लागि म्याद थपेर शुक्रबार दिउँसो बोलपत्रका सबै प्रस्ताव सार्वजनिक गरिने टुंगो भएको थियो । ‘अन्तिम घडीमा रद्द भए पनि विस्तृतमा मलाई जानकारी भएन,’ राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भने ।
विधानसम्मत बोलपत्र प्रतिस्पर्धालाई अन्तिम घडीमा रद्द गरिएको अवस्थालाई जानकारहरूले अनौठो मानेका छन् । ५० लाख पासपोर्ट विदेशमा एकैचोटि लगेर छाप्ने परराष्ट्रको निर्णयप्रति असन्तुष्ट रहेका प्रधानमन्त्री ओलीले दुई साताअघि परराष्ट्रका सम्बद्ध अधिकारीलाई आफ्नो धारणा सुनाएका थिए । असंलग्न आन्दोलन सम्मेलनमा भाग लिन गत कात्तिक ८ मा बाकु भ्रमणमा जानुअघि उनले राहदानी विभागका महानिर्देशक खड्कासहितका पदाधिकारीलाई बालुवाटार बोलाएर ई–पासपोर्टको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान प्रक्रियाप्रति चर्को असन्तुष्टि प्रकट गरेका थिए ।
प्रधानमन्त्रीले प्रमुख सल्लाहकार विष्णु रिमाल र मुख्य सचिव लोकदर्शन रेग्मीलाई साथमै राखेर ‘मुलुकभित्रै सुरक्षा मुद्रण प्रेस स्थापना गर्न लागिरहेका बेला पासपोर्ट छाप्न विदेश पठाउनु उचित नरहेको’ बताएका थिए । प्रधानमन्त्रीले ‘ई–पासपोर्ट छाप्न कम्तीमा १० वर्ष पुरानो कम्पनी किन चाहियो ?’ भन्दै बोलपत्रमा राखिएको सर्तप्रति पनि आपत्ति जनाएका थिए । पुरानो प्रविधिको कम्पनी र मेसिनको औचित्य नरहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले ई–पासपोर्टमा आउने ‘ब्ल्याक एन्ड ह्वाइट फोटो’को औचित्य नरहेको र एकैचोटि ५० लाख संख्यामा पासपोर्ट छाप्नुको अर्थ नरहेको पनि उल्लेख गरेका थिए । उनले ई–पासपोर्ट बोलपत्र प्रक्रियामा असन्तोष जनाउँदै लगातार दुई घण्टा ‘निर्देशन’ दिएपछि उक्त प्रक्रिया खारेज हुन सक्ने संशय परराष्ट्र वृत्तमा बढिसकेको थियो ।

मुख्य पृष्ठ

सरकारको ‘जी टु जी’ प्रयास

- कान्तिपुर संवाददाता

ई–पासपोर्ट छपाइको बोलपत्र रद्द गरिएपछि सरकारले एक फ्रान्सेली कम्पनीबाट सिधै ‘जी टु जी’ (सरकारी तह) प्रक्रियामार्फत पासपोर्ट छपाएर ल्याउन चाहेको जानकारको भनाइ छ । यसअघि नेपालमा सुरक्षा प्रेस स्थापनार्थ प्राविधिक सहयोग लिने भनेर गत मार्चमा समझदारी गरिएको फ्रान्सेली सरकारको स्वामित्वमा रहेको ‘इन–ग्रुप’ लाई ई–पासपोर्ट छपाइमा अनुमति दिइने स्रोतले जनाएको छ ।
‘यो कम्पनीले सुरुमा १० लाख ई–पासपोर्ट निःशुल्क छपाइ गरिदिने र बाँकीको हकमा प्रतिपासपोर्ट ८ डलर रकम लिने सेवासर्त अघि बढाएको छ,’ प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो । तर, बंगलादेशमा समेत सुरक्षा प्रेस स्थापना गर्ने भनेर सन् २०१६ मा काम थालेको यही इन–ग्रुपले हालसम्म पासपोर्ट छपाइ गर्न नसकेको अवस्था छ ।
सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार ‘खुला प्रतिस्पर्धामा जानैपर्ने’ प्रावधान पछ्याएर पासपोर्ट छपाइमा परराष्ट्रले गरेको बोलपत्र खारेज भएपछि अब १ वर्षपछि पासपोर्ट वितरणमा आउन सक्ने देखिएको छ । राहदानी विभागका महानिर्देशक रामकाजी खड्काका अनुसार अब झन्डै साढे ७ लाख साधारण एमआरपी विभागसँग रहेको छ ।

अहिलेको हिसाबमा यो पासपोर्टले बढीमा १ वर्षको माग धान्न सक्छ । शुक्रबार रद्द भएको पासपोर्ट छपाइको बोलपत्र प्रावधानमा बोलपत्रमा ‘अन्तिम छनोट भएको मितिले २४५ दिनमा ई–पासपोर्ट उत्पादन थाल्ने’ भनिएको थियो ।
सञ्चार तथा सूचना–प्रविधि मन्त्रालयअन्तर्गत सुरक्षण मुद्रण प्रेसका प्रमुख विकल पौडेलले नेपालमा सुरक्षा प्रेस स्थापनाको भौतिक तयारी भइसकेको अवस्थामा विदेशमा लगेर ५० लाख पासपोर्ट छाप्नुको औचित्य नरहेको बताए । ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक मस्यौदा कानुन मन्त्रालयमा छ, यो फास्ट ट्र्याकबाट पारित हुँदै छ,’ पौडेलले भने, ‘बनेपाको आईटी पार्कमा सुरक्षण प्रेस स्थापना हुने टुंगो भइसकेको छ, फ्रेन्च ‘इन–ग्रुप’ कम्पनीसँग सुरक्षा प्रेस स्थापनामा प्राविधिक सहयोग लिने भन्ने समझदारी भइसकेको छ । यसबेला राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर ५० लाख पासपोर्ट विदेशमा छाप्ने बोलपत्र रद्द गरिएको हुन सक्छ ।’ उनले ‘नेपालमा अहिले बर्सेनि बढीमा ८ लाख पासपोर्ट आवश्यक रहेको अवस्थामा तत्काल जति चाहिन्छ, त्यति मात्रै विदेशबाट छपाएर ल्याउन सकिने’ जिकिरसमेत गरे ।
पौडेलका अनुसार आईटी पार्कको जमिन सम्याउनेसम्मको बोलपत्र आह्वान भइसकेको र तदारुकतासाथ सुरक्षण प्रेस स्थापना गर्नेमा सरकारी प्राथमिकता देखिएको दाबी गरे । सुरक्षण प्रेस स्थापना गर्न झन्डै ३० अर्ब रुपैयाँ चाहिनेबारेको लागत पनि सार्वजनिक भइसकेको छ तर यो रकम विनियोजनबारे अर्थ मन्त्रालयले छलफलसम्म थालेको छैन । सुरक्षा प्रेस स्थापनापछि कागजी नोट, हुलाक टिकट, चेकबुक, अन्तशुल्क स्टिकरसहित सम्पूर्ण बायोमेट्रिक कागजात नेपालमै छाप्न सकिने अवस्था रहन्छ ।
पूर्वसचिव एवं सार्वजनिक खरिद प्रक्रियाका विज्ञ कृष्ण देवकोटाले ‘सार्वजनिक निकायले खरिदसम्बन्धी प्रक्रिया जुनै बेला पनि खारेज गर्न सक्ने भए पनि’ अब कहिले सुरक्षा प्रेस स्थापना हुने हो र कहिले पासपोर्ट छापिन थाल्ने हो भन्ने विषय उत्तिकै टड्कारो रहेको प्रतिक्रिया दिए । २०६७ सालमा एमआरपी प्रक्रिया थाल्ने बेलामा तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाले पासपोर्ट छपाइमा सरकारी तहबाट (जी टु जी) भारतबाट पासपोर्ट छापेर ल्याउने सहमति गरेपछि संसदीय समितिले यो निर्णय उल्ट्याएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा फ्रान्सेली कम्पनी ओभरथर एमआरपी छपाइमा छनोट भएको थियो । ओभरथरले पहिलो चरणमा प्रतिएमआरपी ३ दशमलव ५९ डलर र दोस्रो चरणमा ५ दशमलव १३ डलर लागतमा छपाइ काम गरेको थियो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन निकाय (आईकाओ) ले सज् २०२५ भित्र ई–पासपोर्ट प्रयोगमा ल्याउनुपर्ने निर्देशन जारी गरिसकेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयं ई–पासपोर्ट कार्यान्वयनको तदारुकतामा लागिपरेका थिए । बोलपत्रका लागि विभिन्न १९ वटा अनर््राष्ट्रिय कम्पनीले प्रस्ताव लगेपनि फ्रान्स, जर्मनी, मलेशिया, अमेरिका, बेलायत, क्यानडा आदि मुलुकका ७ कम्पनी प्रतिस्पर्धामा आएका थिए ।
‘बायोमेट्रिक’ राहदानीसमेत भनिने इ–पासपोर्ट अमेरिका, बेलायतसहित विश्वका करिब एक सय मुलुकमा प्रयोगमा आइसकेको छ । दक्षिण एसियामा भने भारत, बंगालादेशपछि नेपालले ई–पासपोर्ट प्रकृया अघि बढाएको हो । नेपालमा २०६७ पुसबाट सुरु भएको एआरपी पद्धतिमा अहिलेसम्म झन्डै ६१ लाख पासपोर्ट वितरण भइसकेको छ ।

मुख्य पृष्ठ

भक्कानिइरहन्छन् डा. केसी

- डीआर पन्त

(डडेलधुरा) - दुर्गम अजयमेरुबाट भेट्न आएका जयबहादुर ऐर र डोटीको बान्डुग्री सैनका हिक्मत बलायर शुक्रबार दिउँसो डा. गोविन्द केसी अनशन बसेको कोठाबाट आँसु पुछ्दै निस्किए । त्यतिबेला गेटमा पहरा दिइरहेका दुई प्रहरी, कोठामा ब्लड प्रेसर जाँच्न आएकी स्वास्थ्यकर्मी र डडेलधुराकै ईश्वरीप्रसाद भाटका पनि आँखा रसाएका थिए ।
भेट्न आउनेहरूसँग कुरा गरिरहँदा डा. केसी बेलाबेला भक्कानिन्छन् । यो देखेर आउनेहरूको मन थामिँदैन । उनीहरूका आँखा रसाइहाल्छन् । शुक्रबार पनि त्यस्तै भयो, ऐर र बलायरसँगको भेटमा । ‘म आफू र आफन्तका लागि या कुनै माफियाको फाइदाका लागि अनशन बसेको हुँदै होइन,’ डा. केसी भन्दै थिए, ‘बाजुरादेखि ओखलढुंगासम्मका गरिब जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भनेर अनशन बसेको हुँ ।’
डडेलधुरा अस्पताल नजिकैको एउटा चिसो कोठामा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशन बसेका डा. केसीलाई भेट्न आउने जोसुकैलाई पनि उनी भन्न छुटाउँदैनन्, ‘संविधानले दिएको अधिकार माग्दा सरकारले अपराधी जस्तो व्यवहार गर्‍यो । राजनीतिक नेतृत्व जनताप्रति उत्तरदायी भएन ।’ जुन अधिकार जनताका नाममा नेताले सहजै उपभोग गरिरहेका छन्, त्यो अधिकार सर्वसाधारणले नपाएको डा. केसीको आरोप छ । ‘स्वास्थ्य शिक्षा र चिकित्सा क्षेत्रबाट हुने अवैध आम्दानीका कारण यसको सुधारका लागि कुनै पनि सरकारले उत्साह देखाएनन्,’ उनले गुनासो गरे । विगतका सरकारले आफूसँग के कस्ता सम्झौता गरे ? प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका कस्तो रह्यो ? आफ्ना मागप्रति दलका शीर्ष नेताले कस्तो व्यवहार गरे भन्नेलगायत विवरण सुनाउँदा उनी आफैंलाई सम्हाल्न सक्दैनन् । र, भक्कानिन्छन् ।
अनशन बसेको पाँचौं दिनसम्म राज्यका निकाय र जनप्रतिनिधिले डा. केसीका मागमा चासो देखाएका छैनन् । ‘यति पवित्र भावना बोकेर जनताका लागि लड्ने अभियन्ता मैले कमै देखेको छु,’ भाटले भने, ‘डा. केसीका विचार सुनेर सेवाको परिभाषा के हो भन्ने बुझ्न पाएँ ।’ उनको आफ्नो भन्नु कोही छैन ।

जे छ गरिब जनताका लागि हो । जीवनभरि उनले जे गरे, सबै सेवाभावबाट गरेको गरेको भाटको बुझाइ छ ।
डा. केसीका माग सम्बोधनमा सरकारको चासो गएको छैन नै, उसले ‘माथिको आदेश’ का नाममा सरकारी कर्मचारीलाई भेटमा समेत अघोषित प्रतिबन्ध लगाएको छ । डोटी, बैतडी, दार्चुला र अछाम, बझाङबाट समेत विभिन्न सामाजिक क्षेत्रमा कार्यरत व्यक्ति डा. केसी भेट्न आउने गरेका छन् । डडेलधुरा प्रशासन, सत्तारूढ राजनीतिक दलका नेता कार्यकर्ता, उनी अनशन बसेको स्थान अमरगढी नगरपालिकाका जनप्रतिनिधिलगायत दलको ह्वीप लाग्ने संघसंस्थाका प्रतिनिधिले समेत डा. केसीलाई भेटेका छैनन् । सत्तारूढ नेकपालगायत दलका नेताकार्यकर्ता भने डा. केसी जस्ता व्यक्तिको मानमर्दन हुने गरी चोकचौराहमा आलोचना गरिरहेको अवस्थामा भेटिने गरेको स्थानीय लक्ष्मी पाण्डेयले बताए । ‘दलका कार्यकर्तामा सही कुरालाई सही र गलत कुरालाई गलत भन्न नसक्ने दास मानसिकताका कारण गोविन्द केसीहरूले अनशन बस्नुपरेको हो,’ उनले भने ।
डा. केसीका मागप्रति आफ्नो भावनात्मक समर्थन रहे पनि उनलाई सहयोग गर्न सक्ने अवस्थामा आफूहरू नरहेको एक जना सरकारी अधिकारीले बताए । ‘केसीको स्वास्थ्य स्थिति र सुरक्षाका विषयमा प्रशासनले समन्वय गरिरहेको छ । सरकारबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन,’ डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले भने, ‘डा. केसीका माग सबै राज्यले गर्नॅपर्ने सम्बोधनका विषय हुन् । त्यसैले मेरो तर्फबाट हुनुपर्ने सबै कुरा हेरिरहेको छु ।’ अनशनको समर्थनमा सुदूर पहाडका प्रायः सबै जिल्लाका नागरिक अगुवा र नागरिक संघसंस्थाले ऐक्यबद्धता जनाउँदै आएका छन् । डडेलधुरामा पनि विभिन्न संघसंस्थाको आयोजनामा शुक्रबार र्‍याली निकालिएको छ । यसअघि नागरिक समाज डडेलधुराले उनका मागप्रति सचेत हुन प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
डा. केसीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार साँझ उनलाई डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको चिकित्सकहरूले जानकारी दिएका छन् ।

Page 2
समाचार

चीनले च्यापेपछि नेपालतर्फ कटान

नदीमै क्रसर र डोजर राखेर चिनियाा पक्षद्वारा ढुंगा–बालुवा उत्खनन
- दीपेन्द्र शाक्य
संखुवासभाको किमाथांका र तिब्बतको सीमा भएर बग्ने अरुण नदी । चीनले एक्स्काभेटर प्रयोग गरी नदी किनारबाट ढुंगा–बालुवा निकाल्ने गरेको छ । तस्बिर ः दीपेन्द्र शाक्य/कान्तिपुर

 

(संखुवासभा) - चिनले संखुवासभाको किमाथांका र तिब्बतको सीमा भएर बग्ने अरुण नदी किनारमा तटबन्ध बनाई रिउबाट चाँगा बजारसम्म सडक विस्तार गरेको छ । यसले नेपाली भूमि कटानको जोखिम बढाएको छ । नेपालतर्फ नदी कटान रोक्न भोटखोला गाउँपालिका–१, किमाथांकामा बनाएको तारजालीको तटबन्ध कमजोर छ । चीनले पक्की तटबन्ध लगाउँदा नदीले धार परिवर्तन गरी नेपाली भूमितर्फ क्षति पुर्‍याउन थालेको वडाध्यक्ष तेनछेवी भोटियाले बताए ।
‘चीनतर्फ हरेक वर्ष पक्की तटबन्ध लगाउन थालिएको छ,’ उनले भने, ‘अरुण नदी हाम्रातिर बग्न थाल्यो, किमाथांकाको भूमि कटान भएको छ ।’ चाँगाबजारमा भएका तिब्बतको प्रशासनको आडमा उनीहरूले जबर्जस्ती तटबन्ध बढाउन थालेको भोटियाको भनाइ छ । ‘उतापट्टि नदीमा च्यापेर काम सुरु भएपछि किमाथांका भएर अरुण बग्न थालेको छ,’ उनले भने, ‘वर्षात्मा अरुणमा बाढी आए किमाथांका जलमग्न हुन्छ ।’ चिनियाँ पक्षले नदीमै क्रसर राख्नुका साथै डोजर प्रयोग गरी बालुवा तथा ढुंगासमेत निकाल्ने गरेको स्थानीय वासिन्दाको भनाइ छ । नेपालको स्थानिय प्रशासनले चाँगामा तिब्बतका सुरक्षाकर्मी एवम् प्रशासकसँग पटकपटक वार्ता गरेपनि उनीहरूले अटेर गरेको स्थानीयवासीले बताए ।
यसअघि डेढ रोपनीभन्दा बढी जग्गा कटान भएपछि रोकथामका लागि साविकको किमाथांका गाविस र त्यसपछि भोटखोला गाउँपालिकाले एक करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेका छन् । चीनबाटै सिमेन्ट र तारजाली खरिद गरी नेपालतर्फ बनाइएको तटबन्धबाट केही मात्रामा नदी नियन्त्रण भएको स्थानीय निमा नाबाले बताए । ‘माथिल्लो सीमा कायम भएको कामु खोलामा पनि चीनले पक्की तटबन्ध लगाएको छ,’ उनले भने, ‘बर्खाको समयमा नेपाली भूमि अझै धेरै कटान हुने सम्भावना बढेको छ ।’ उनका अनुसार चीनले किनार च्याप्दै आफ्नोतिर सडक विस्तार गरिरहेको छ ।
नदी व्यवस्थापनका लागि स्थायी तटबन्धको निर्माण आवश्यक रहेको स्थानीयले बताए । ‘नेपाली भूमि जोखिममा रहेकाले संरक्षणमा जोड दिनुपर्छ,’ भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटियाले भने, ‘अरुणले धार फेरेको छ । चीनले सीमा क्षेत्रका चाँगा, देन्दाङ बजार तीन वर्षदेखि विस्तार गरिरहेको छ ।’
नदीमा स्काभेटर लगाएर बालुवा झिक्ने र स्पर राखी नदी नेपालको किमाथांकातर्फ मोडेको स्पष्ट देख्न सकिने उनले बताए । भोटियाका अनुसार यो क्षेत्रमा चीनले भन्सार कार्यालय, सुख्खा बन्दरगाह, सीमा सुरक्षा र अध्यागमनलगायत कार्यालय स्थापना गर्ने गरी नक्सासमेत तयार पारेको छ । चीनतर्फ कंक्रिट पर्खाल लगाउनुका साथै क्रसर उद्योग पनि खोलिएको छ, जसका कारण दिन प्रतिदिन नदी गहिरिँदै गएको उनले उल्लेख गरे । अरुणमा तटबन्ध निर्माण गर्न २५ करोडभन्दा बढी बजेट चाहिने र भूमि रक्षाका लागि संघीय सरकारको नजर पुग्नुपर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको भनाइ छ । किमाथांकाको स्थलगत अवलोकन गरेपछि उनले अरुणमा तत्काल तटबन्ध निर्माण गर्नुपर्ने प्रतिक्रिया दिए ।
‘समस्या समाधानका लागि नेपालले करिब एक किलोमिटर तटबन्ध लगाउनुपर्ने देखिन्छ,’ गौतमले भने, ‘बजेट छुट्याएर काम अघि बढाउनुपर्छ ।’ नदी नियन्त्रणका लागि बलियो आधार नअपनाउने हो भने नाका सञ्चालनपछि नेपाली भूमि खुम्चिदै जाने र व्यापारमा नकारात्मक असर पर्ने उनले बताए । ‘यो विषयमा प्रदेश र संघीय सरकार गम्भीर बन्न जरुरी छ,’ उनले भने, ‘नभए नेपाली भूमि कटान भएर बाढी पस्नेछ ।’
चीनतर्फ चाँगा र देन्दाङ बजारमा भूकम्पपछि पुनर्निर्माणसँगै सहरीकरण तीव्र भएकाले नदीबाट ढुंगा, बालुवा जथाभावी संकलन गर्ने गरेको पाइएको छ । यसले गर्दा नदीको बहाव नेपालतर्फ मोडिएको हो । किमाथांका नाका संखुवासभा सदरमुकाम खाँदबारीबाट १ सय ६२ किमिको दूरीमा पर्छ ।


एक किलोमिटर तटबन्ध निर्माण गरे
संखुवासभा–अरुण नदी हिउँदमा सानो हुन्छ । कसैलाई समस्या हुँदैन, जब वर्षा लाग्छ, एकदमै ठूलो हुन्छ । अनि उतापट्टि बनाएको तटबन्धका कारण किमाथांकाको भूभाग आएर बग्छ । चाँगा बजार विस्तार भएपछि हाम्रोतिर नदी बग्न थालेको छ । स्थायी रूपमा तटबन्ध बनाएर उनीहरूले पक्की सडक ल्याइसकेका छन् ।
हामीले धेरै पटक आग्रह गरिसकेका छौं तर जबर्जस्ती बनाइरहन्छन् । हाम्रोतिरको जमिन खिइँदै गएको छ । धेरै पटक सीमा प्रहरी चौकीका इन्चार्ज र चाँगाका प्रशासक र स्थानीयबीच छलफल भएका छन् । हामी दैनिक उपभोग्य सामग्री, दाल, नुन, तेल किन्न उतै जानुपर्छ । हामीले कुरा उठाएपछि उनीहरूले कडाइ गर्छन् ।
– नुर्पु भोटिया, स्थानीय भोटखोला गाउँपालिका सानो रकमले तटबन्ध निर्माण हुँदैन संखुवासभा– हाम्रोतिर तिब्बतले तटबन्ध बनाएपछि मैले पनि यो निर्माण गर्नु भएन भनेर उताका प्रशासकलाई धेरै पटक भनेको छु । निर्माण रोकिएको छैन । हामीले भनेको कहिल्यै सुन्दैनन् । तटबन्ध निर्माण गरेर क्रसर मेसिन र डोजरको प्रयोगबाट अरुणको बालुवा झिकिन्छ । भूकम्पपछि पुनर्निर्माण भएका घरहरूका लागि पनि यहींको ढुंगा र बालुवा प्रयोग गरिन्छ अनि तटबन्ध निर्माण हुन्छ । दुवै देशको मध्यभाग भएर बग्ने खोला अलिक बढी हाम्रोतिर बग्न थालेको छ । सानो पैसाले भ्याउँदैन केही गर्न सकिँदैन । ३ करोडभन्दा माथि बजेट ल्याउनुपर्छ भनेर आश्वासन दिएका छन् । गत वर्ष गाउँपालिकाबाट १७ लाख छुट्याएका थियौं ।
– तेम्बा भोटिया, अध्यक्ष
भोटखोला गाउँपालिका, संखुवासभा

समाचार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

सीमा विवाद
- जगदीश्वर पाण्डे

 

(काठमाडौं) - भारतले सीमा मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । भारतले कात्तिक १७ मा सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा हालेपछि चौतर्फी विरोध भइरहेको छ ।
‘सबैको धारणा एउटै भए पनि समस्याको समाधान कसरी गर्ने भन्नेबारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले कान्तिपुरसँग भने । भारतले नयाँ नक्सा सार्वजनिक गरेको तीन दिनपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर ‘कालापानी क्षेत्र नेपालकै भूभाग भएको’ स्पष्ट पारेको थियो । प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि बुधबार नेपालस्थित भारतीय राजदूत मञ्जिवसिंह पुरीलाई फोन गरी भारतीय कदमको विरोध गरेका थिए । सत्तारूढ दलकै नेताहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी भारतीय कदमको विरोध गरिसकेका छन् । नेपालमा चर्को विरोध भएपछि बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा कुनै सीमा परिवर्तन नगरिएको दाबी गरेका थिए ।


भारतीय दूतावासअगाडि प्रदर्शन
भारतले नेपालको सीमा मिचेको विषयमा सत्तारूढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु र संघीय समाजवादी पार्टीको युवा विद्यार्थी संगठनले लैनचौरस्थित भारतीय दूतावासअगाडि विरोध जनाएका छन् । भारतीय विस्तारवाद–मुर्दावाद, गो ब्याक इन्डिया जस्ता नारा लगाउँदै विद्यार्थीले प्रदर्शन गरेका हुन् । कांग्रेसका युवा विद्यार्थीले पनि बिहीबार विरोध गरेका थिए । विरोधमा उत्रिएका युवा–विद्यार्थीले भारतको नक्सा जलाएका थिए । गैरआवासीय नेपाली संघ (एनआरएन) ले शुक्रबार विज्ञप्ति जारी गर्दै भारतले सीमा मिचेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपाली क्षुब्ध भएको अध्यक्ष कुमार पन्तद्वारा जारी विज्ञप्तिमा छ ।

Page 3
समाचार

बालगृह कमाइखाने भाँडो

- जनकराज सापकोटा
कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित सामाजिक तथा मानवीय सरोकार केन्द्रले सञ्चालन गरेको बालगृह । तस्बिर ः कविन अधिकारी/कान्तिपुर

(काठमाडौं) - ष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रको टोली १० असोजमा कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित सामाजिक तथा मानवीय सरोकार केन्द्रले सञ्चालन गरेको बालगृह खोज्दै जाँदा एकछिन अलमलमा पर्‍यो । बालगृह भएको कुनै होर्डिङ बोर्ड वा सूचना त्यहाँ थिएन । टिनको एउटा लामो टहरो नै बालगृह भएको थाहा पाउँदा सरकारी टोली अचम्ममा पर्‍यो ।
टहरोमा तीन कोठा मात्रै बालगृह सञ्चालनका लागि भाडामा लिइएको रहेछ । अन्य कोठा भाडामा लगाइएको रहेछ । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ०६९ ले तोकेको कुनै मापदण्ड बालगृहले पूरा गरेको थिएन । त्यहाँ औसत सरसफाइको अवस्था पनि नाजुक थियो । उक्त टोलीमा संलग्न राष्ट्रिय बालअधिकार परिषद्का नायब सुब्बा देवी डोटेलले भने, ‘न आश्रित बालबालिका सफासुग्घर थिए न किचनमा सफाइ । बालबालिकालाई पर्याप्त पोषणको व्यवस्था पनि नभएजस्तो देखिन्थ्यो ।’
नगरपालिकाका मेयर र वडाध्यक्षसहितको सरकारी टोलीले त्यहाँ आश्रित ११ बालबालिकालाई उद्धार गर्‍यो । तिनीहरूमध्ये दस जना मुगु र एक जना जुम्लाका थिए । समाजसेवा गरेको देखिने र गरिब बालबालिका देखाएर विदेशीबाट पैसा पनि झार्न सकिने लोभले मुगुका अर्जुन नेपालीले उक्त बालगृह सञ्चालन गरेका थिए । राष्ट्रिय बालअधिकार परिषद्का अधिकृत रामबहादुर चन्दका अनुसार बालबालिकालाई देखाएर विदेशी दाताबाट पैसा झार्न सकिने, त्यसैबाट गुजारा चलाउने र समाजसेवा गरेको पनि देखाउने लोभमा बालगृहहरू सञ्चालन गरिएको देखिन्छ ।
अनाथ, असहाय र अभिभावकविहीन बालबालिकालाई सुरक्षित तरिकाले हुर्काउने भनेर खुलेका बालगृहबाट बालबालिका उद्धार गरिएको यो पहिलो घटना थिएन । वैशाखयता मात्रै राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रले काठमाडौं, भक्तपुर र ललितपुरका ६ वटा बालगृहबाट १ सय ९१ जनाको उद्धार गरेको छ ।
तीमध्ये अधिकांश बालबालिका कर्णाली प्रदेशका छन् । आव ०७५/७६ मा पाँचवटा बालगृहबाट १ सय ९२ जना बालबालिकाको उद्धार भयो । जसमध्ये १ सय ५२ जनालाई अभिभावकको जिम्मा लगाइयो भने ४६ जना विभिन्न बालगृहमा छन् । परिषद्ले आव ०७५/७६ मा ८२ वटा बालगृहको अनुगमन गरेको थियो । यो आर्थिक वर्षको साउन र भदौमा मात्रै ४६ वटा बालगृहको अनुगमन सकेको छ ।
पछिल्ला दुई महिनामा परिषद् र बालबालिका खोजतलास केन्द्रले छापा मारेका बालगृहमा बालबालिकामाथि यौन हिंसा भइरहेको, कर्णालीका विभिन्न दुर्गम गाउँबाट अभिभावकसँग रकम असुलेर बालबालिका ल्याउने गरिएको र यस्तो काममा केही एजेन्टसमेत सक्रिय रहेको देखिएको छ । आश्रित बालबालिकालाई पोषणयुक्त खाना दिने नगरिएको, सरसफाइमा कमजोरी रहेको र बालगृहमा कमजोर पूर्वाधार पाइएको छ ।


महानगरीय प्रहरी वृत्त महाराजगन्ज, बालबालिका खोतजलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्का प्रतिनिधि जेठ १ मा बूढानीलकण्ठको ऐश्वर्य बालगृहमा छापा मार्न जाँदा १७ जना मात्रै बालबालिका थिए । केन्द्रका इन्स्पेक्टर मोहनविक्रम दाहालका अनुसार तीमध्ये अधिकांश रोगी देखिन्थे । ती बालबालिकालाई उद्धार गर्नेक्रममै थाहा भयो, बालगृहले अन्य ठाउँमा पनि त्यसैगरी बालबालिका राखेको रहेछ । प्रहरीको सहयोगमा सबै ठाउँबाट बालबालिका जम्मा पार्दा एक सय २५ जना पुग्यो ।
केन्द्रका अनुसार उद्धार गरिएका जम्मा एक सय २५ मध्ये ७७ बालक र ४८ बालिका थिए । तिनीहरूमध्ये ७९ जना हुम्लाकै मात्र थिए भने अन्य कर्णाली प्रदेशका विभिन्न जिल्लाका । उद्धार गरिएका सबैजसो दुर्गम गाउँका दलित, अशिक्षित र विपन्न परिवारका थिए ।
बालबालिकासम्बन्धी ऐन ०७५ का अनुसार केन्द्रीय बाल कल्याण समितिको अनुमतिबिना बालगृह सञ्चालन गर्नु गैरकानुनी हो । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ०६९ का अनुसार बालबालिका राख्ने मान्यताप्राप्त गृहमा खानपिनको साप्ताहिक तालिका, नियमित स्वास्थ्य जाँच, सञ्चालकसहित १० कर्मचारी हुनैपर्छ । बालबालिकासम्बन्धी नियमावली २५१ ले त बालगृहहरूले अनिवार्य रूपले बालबालिकाको व्यक्तिगत विवरणको फाइल राख्नुपर्ने भनेको छ तर यस्ता कुनै पनि मापदण्ड ऐश्वर्यले पूरा गरेको थिएन ।
असार १८ मा परिषद् र बालबालिका खोजतलास केन्द्रले संयुक्त रूपमा भक्तपुर ताथलीको सौडोल महिला समाजको बालगृहमा छापा मारेर ९ बालबालिकालाई उद्धार गर्‍यो । ती बालबालिका हुम्ला र जुम्लाका विकट गाउँबाट ल्याइएको अनुसन्धानमा खुल्यो । उद्धारपछि बालबालिकको मानसिक परामर्शका क्रममा थाहा भयो, एक ६ वर्षीय बालिका बालगृह सञ्चालकका श्रीमान्बाट यौन दुर्व्यवहारमा परेकी रहिछन् ।
परिषद् र केन्द्रले काठमाडौं उपत्यकाका बालगृहमा छापा मारेर उद्धार गरिएका धेरैजसो बालबालिका कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु र कालिकोटका छन् । थोरै पैसामै काठमाडौंमा लगेर खानेबस्ने र पढाउने व्यवस्था मिलाइदिने आश्वासनमा परेर विकट गाउँका अभिभावकले आफ्ना बाबुनानीलाई बालगृहका एजेन्टको जिम्मा लगाएर पठाएको देखिन्छ । बूढानीलकण्ठको ऐश्वर्य बालगृहबाट उद्धार गरिएका बालबालिकाका अभिभावकमध्ये केहीले छोराछोरी लैजाने सर्तमा २० हजार त कसैले ५० हजारसम्म एजेन्टलाई हवाईजहाज भाडा भन्दै दिएको बताएका थिए ।
गरिबीका र बग्रेल्ती सन्तान भएका अभिभावक बालगृहका एजेन्टको आश्वासनमा सजिलै पर्ने गरेको देखिन्छ । हुम्ला घर भई काठमाडौंमा डकर्मी काम गर्ने जय नेपालीले आफ्ना दुई छोराछोरीले पढ्न पाउने आसमा ऐश्वर्य बालगृहमा राखेका थिए । उनले सञ्चालकको कुरा पत्याएर आफ्नो गाउँका थप ५ बालबालिकालाई बालगृहमा ल्याइदिए, तिनका अभिभावकबाट उठाएर एक लाख १५ हजार सञ्चालकलाई पनि बुझाए । यसो गरेबापत जयकी श्रीमतीले बालगृहमा काम पाएकी थिइन् ।
उनले हुम्लाका विभिन्न ७ बालबालिकाका अभिभावकबाट छोराछोरीलाई काठमाडौंमा गतिलो पढाइ र खानेबस्ने सुविधा मिलाइदिने भन्दै जनही २० हजार रुपैयाँ उठाएकी थिइन् । उनले त्यो सबै रकम गृहकी सञ्चालिका निर्मला घिमिरेलाई बुझाइन् ।
भक्तपुरको सौडेल महिला समाजले चलाएको बालगृहबाट हुम्ला घर भएका ९ बालबालिका उद्धार गरेपछि प्रहरीले कृष्णामाया न्हेमाफुकीले सञ्चालन गरेको बालगृहमा बच्चा ल्याउने काममा खटिएका वीरसिंह धामी र कल्पना बुढालाई पक्राउ गरेर बालबालिकासम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । जसमा वीर सिंह र कल्पना भक्तपुर जिल्ला अदालतको आदेशपछि जनही ३० हजार धरौटी बुझाएर तीन सातापछि रिहा भए । कृष्णमाया भने ५० हजार धरौटी बुझाउन नसकेर सुन्धारास्थित केन्द्रीय कारागारमा छिन् ।
प्रहरीका अनुसार वीर सिंह र कल्पनाले हुम्ला र जुम्लाका दुर्गम गाउँबाट बच्चा ल्याएर बालगृहमा दिने काम गर्थे । थोरै पैसामा खाने, बस्ने र पढ्ने व्यवस्था मिलाइदिने भन्दै उनीहरूले गाउँबाट बालबालिका ल्याएको देखिन्छ । गाउँबाट काठमाडौं लैजाने गाडी भाडा भन्दै उनीहरूले अभिभावकसँग २० देखि ५० हजार रुपैयाँसम्म उठाएको देखिन्छ । सौडोल महिला समाजको बालगृहबाट उद्धार भएकी एक बालिकाका अभिभावकले हुम्ला रिप गाउँबाट कान्तिपुरसँग टेलिफोन कुराकानीमा आफूले ११ हजार रुपैयाँ गाडीभाडा भन्दै कल्पनाको साथमा छोरी जिम्मा लगाएर पठाएको बताइन् । श्रीमान्को मृत्यु भएपछि ५ छोरी हुर्काउन गाह्रो परिरहेका बेला काठमाडौं लगेर पढाइदिने बताएपछि उनले कल्पनाको जिम्मा लगाएर पठाएकी थिइन् ।
परिषद्का अधिकृत रामबहादुर चन्दका अनुसार बालगृहको नियमित अनुगमन र सुपरिवेक्षणबिना गाउँबाट बालबालिका ल्याउने र बिचल्ली पार्ने कामलाई कम गर्न सकिँदैन । चन्दका अनुसार यो आर्थिक वर्षमा मात्रै तीन सय बालगृहको अनुगमन गर्ने लक्ष्य राखिएको छ । साविकको केन्द्रीय बालकल्याण समितिले ०७३ मा प्रकाशित गरेको नेपालमा बालबालिकाको स्थिति नामक प्रतिवेदनमा केन्द्रीय बालकल्याण समिति तथा जिल्ला बालकल्याण समितिले आव ०७२/७३ मा जम्मा ४ सय १४ वटा बालगृहको स्थलगत अनुगमन गरेको थियो । जसमध्ये आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड अनुकूल नरहेका समस्याग्रस्त १० बालगृहबाट ७६ जना बालक र ६० जना बालिका गरी १ सय ३६ बालबालिकालाई उद्धार गरिएको उल्लेख छ । यो तथ्यांकले बुझाउँछ, बालगृहहरू नियमसंगत ढंगले नचल्ने, बालबालिकालाई कमाइखान भाँडो बनाएर उनीहरूमाथि विभिन्न प्रकारको शोषण गर्ने क्रम वर्षौंदेखि निरन्तर छ ।
संसद्को महिला तथा सामाजिक समितिले पनि बालगृहमा रहेका बालबालिकाहरूको अवस्था दयनीय रहेको र तिनीहरूमाथि कडा निगरानी राख्नुपर्ने भन्दै सांसदहरूबीच छलफल चलाएको थियो । समितिले बालगृहहरूको अवस्था समेटेर सांसदलाई वितरण गरेको प्रतिवेदनमा ०६४ देखि ०७६ सम्म मात्रै नियमविपरीत सञ्चालनमा आएका ६४ बालगृह बन्द गरिएको र तिनबाट ८ सय ८० बालबालिकालाई उद्धार गरिएको तथ्य उल्लेख छ ।
त्यसो त कमजोर सरकारी अनुगमनका कारण पनि अधिकांश बालगृहहरू बालबालिका शोषणको केन्द्र बन्ने गरेको देखिन्छ । काठमाडौंमा रहेका १ सय ९५ बालगृहमध्ये आव ०७५/७६ मा ३ वटा मात्रै र भक्तपुरका एक सय २१ मध्ये दुईवटा मात्रै नवीकरण भएका छन् । यो तथ्यांकले बालगृहहरू नियमअनुसार नवीकरण नभएको, आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ०६९ अनुसार सञ्चालित नभएको देखाउँछ ।
विगतमा जिल्ला प्रशासनमा दर्ता भएर केन्द्रीय बालकल्याण समितिबाट बालगृहले सञ्चालन अनुमति लिने व्यवस्था थियो । स्थानीय तह पुनःसंरचनापछि यस्तो अधिकार प्रदेश हुँदै गाउँपालिकाले पाएका छन् । तर बालबालिकासम्बन्धी ऐन ०७५ ले बालगृहको नवीकरणसम्बन्धी व्यवस्था नियमावली बमोजिम हुने व्यवस्था गरे पनि नियमावलीको अभावमा यस्तो काम ठप्पजस्तै भएको छ ।
परिषद्का अधिकृत रामबहादुर चन्दले भने, ‘नियमावलीको अभावमा नवीकरणको काम रोकिएको छ र यसको फाइदा अवैध काम गर्नेहरूले उठाउने जोखिम झनै बढेको छ ।’
स्थलगत अनुगमनमा अधिकांश बालगृहहरू व्यवस्थित तरिकाले सञ्चालन नभएको, बालबालिकालाई पर्याप्त पोषणयुक्त खानेकुरा दिने नगरिएको देखिन्छ । सौडोलस्थित बालगृहका बालबालिकालाई स्थानीय श्रीदेवी माविमा पढाउने व्यवस्था मिलाइए पनि बालबालिकाका निम्ति आधारभूत सुविधासम्म थिएन । परिषद्ले तयार पारेको स्थलगत अनुगमन प्रतिवेदनमा बालबालिकालाई पर्याप्त पोषणको व्यवस्था नगरिएको, घर कम्पाउन्ड नभएको र सुरक्षाका हिसाबले जोखिमपूर्ण रहेको, स्थानीय व्यक्तिसँग पटके मागेर दयनीय रूपमा गुजारा चलाइएको उल्लेख छ । प्रगतिशील महिला समाज संस्थाअन्तर्गत रहेको वाईपीसी नामक संस्थाले बाफलमा बालबालिका खोजतलास केन्द्रका अधिकारीहरू पुग्दा स–साना बालबालिका नुनसँग भात खाइरहेका देखिन्थे । केन्द्रका इन्स्पेक्टर मोहनविक्रम दाहालका अनुसार बालबालिकालाई पर्याप्त पोषणयुक्त खानेकुरा तालिका बनाएर खुवाइएको भेटिएन ।
कमजोर कानुन
बालबालिकासम्बन्धी ऐन ०७५ को दफा ४९ ले कस्तो अवस्थामा मात्रै बालबालिकालाई बालगृहमा राख्न सकिन्छ भन्नेबारे परिभाषित गरेको छ । अभिभावक नभएमा, नजिकका आफन्तले हेर्न मिल्ने अवस्था नरहेमा, परिवारमा आधारित हेरचाह गर्ने संस्थामा राख्न नसकिएमा मात्रै बालगृहमा बालबालिका राख्न सकिने व्यवस्था गरेको छ । परिषद्का अनुसार उद्धार गरिएका अधिकांश बालगृहले यस्तो कानुनी परिभाषा उल्लंघन गरेको देखिन्छ ।
जिल्लास्थित बालकल्याण अधिकारीको सिफारिसपछि चौथो विकल्पका रूपमा मात्रै बालगृहमा राख्न सकिने व्यवस्था भए पनि अधिकांश बालगृहले यस्तो सर्त उल्लंघन गरेको देखिन्छ । त्यसो त ऐनले स्थानीय तहमै स्थानीय बालअधिकार समिति निर्माण गर्ने र बालबालिकासम्बन्धी नियमावलीले त्यसको सञ्चालन व्यवस्था गर्ने उल्लेख गरेको छ । तर नियमावलीको अभावमा स्थानीय तहमा यस्ता समिति गठन भइसकेका छैनन् ।
परिषद्का अधिकृत चन्दले भने, ‘समयमै नियमावली नआउँदा अप्ठ्यारो भइरहेको छ ।’
बालबालिकालाई अभिभावकको स्वीकृति लिएर बालगृहमा राख्नैपरे पनि स्थानीय तहबाट सिफारिस ल्याउनैपर्ने, बालबालिकासम्बन्धी नियमावली ०५१ ले भनेअनुसार बालगृहमा बसेका बालबालिकाको वैयक्तिक विवरणको फाइल खडा गर्नुपर्ने, आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ०६९ अनुसार बालगृह चलाउनुपर्ने, गृहमा सञ्चालकसहित कम्तीमा १० कर्मचारी हुनुपर्ने, केन्द्रीय बालकल्याण परिषद्को अनुमति लिनुपर्ने, खानपिनको साप्ताहिक तालिका बनाउनुपर्ने जस्ता सामान्य सर्त पनि पालना गरेको देखिँदैन ।
बूढानीलकण्ठको ऐश्वर्य बालगृह होस् वा बलम्बुको प्रगतिशील महिला समाज संस्थाअन्तर्गत रहेको वाईपीसी नामक संस्थाले चलाएको बालगृह होस् वा भक्तपुर ताथलीको सौडोल महिला समाजले चलाएको बालगृह । यी कुनै पनि सरकारी निकायमा दर्ता देखिँदैनन् । यी बालगृहमा रहेका बच्चाहरूमध्ये कैयौं बिरामी अवस्था थिए भने तिनीहरूमा पोषणको कमी देखिन्थ्यो ।
ऐश्वर्य बालगृहमा आश्रित बालबालिकाको उद्धारमा खटिएमा बालबालिका खोजतलास केन्द्रका इन्सपेक्टर दाहालका अनुसार बालबालिका केही दिनदेखि भोकै थिए । उनले सुनाए, ‘एउटा बच्चाले त किताबमा रहेको स्याउको चित्र काटेर खान खोजेजस्तो गर्दै थियो । बालबालिकासम्बन्धी ऐन ०७५ ले कानुनविपरीत बालगृहमा राख्ने कामलाई बालबालिकाविरुद्धको हिंसा भनेको छ । यस्तो हिंसाजन्य कसुर गर्नेलाई कानुनले ५० हजार रुपैयाँ जरिवाना र एक वर्षसम्म कैद तोक्ने व्यवस्था छ ।
अनौठो त के छ भने बालबालिकासम्बन्धी ऐन ०७५ ले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नियमविपरीत सञ्चालित र बालगृहको नाममा व्यापार गर्नेहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार दिएको छ । तर धमाधम बालगृहबाट बालबालिकाको उद्धार भए पनि सरकारी उदासीनताका कारण कारबाही प्रक्रिया फितलो छ । परिषद्का अधिकृत चन्दले सुनाए, ‘नियमावलीकै अभावमा कतिपय बालगृहलाई सार्वजनिक ठगीअन्तर्गत मुद्दा चलाइएको छ ।’
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका कार्यक्रम निर्देशक तथा बाल अधिकारकर्मी मधु दवाडी बालगृहमा रहेका बालबालिकामध्ये ६२ प्रतिशतका बा वा आमा रहेको बताउँछन् । सन् २०१५ मा तत्कालीन केन्द्रीय बालकल्याण समितिको संयोजनमा उनीसहितको टोलीले मकवानपुर, बाँके र मोरङका बालगृह ३० भन्दा धेरै बालगृहको अनुमगन गरेका थिए । तीमध्ये केही बालगृहले धर्म परिवर्तनका लागि बालबालिकालाई राखेको देखिएको थियो भने धेरैजसो बालगृहको मापदण्ड पुगेको थिएन । कतिसम्म भने केही बालगृहलाई त मापदण्ड भन्ने थाहा थिएन ।
०७५ भदौ अघिसम्म सहायक प्रमुख जिल्ला अधिकारी बालगृहको अनुमगनको संयोजक रहन्थे र जिल्लास्थित महिला विकास कार्यालयको प्रमुख अनुगमनको सदस्य सचिव रहन्थे । स्थानीय तहको पुनःसंरचनापछि स्थानीय सरकार सञ्चालन ऐनको दफा १२ ले वडा कार्यालयलाई बालगृहको रेखदेख, सञ्चालन र अनुगमनको जिम्मेवारी दिएको छ । दवाडीको अनुभवमा अधिकांश स्थानीय तह र बालगृह अनुगमनबारे जानकार छैनन् र नियमावलीको अभावमा केही वर्षयता अनुगमनको काम ठप्पजस्तै छ । उनले भने, ‘यसको फाइदा अवैध रूपमा सञ्चालित बालगृहहरूले उठाइरहेका छन् ।’

समाचार

यौनहिंसाको जोखिम

- कान्तिपुर संवाददाता

दुर्गम गाउँबाट अभिभावकको सहमतिमा वा थाहा नदिई ल्याएर बालगृहमा राखिएका कैयौं बालबालिका यौनहिंसाको सिकार बनेको देखिन्छ । भक्तपुर ताथलीको बालगृहबाट उद्धार गरिएकी एक बालिका यौनहिंसाको सिकार बनेको खुलेको थियो । प्रगतिशील महिला समाज संस्थाअन्तर्गत रहेको वाईपीसी नामक संस्थाले बाफलमा चलाएको भनिएको बालगृहबाट ९ बालबालिका खोजतलास केन्द्र र परिषद्ले ९ जना बालबालिकालाई उद्धार गरेको थियो । जसमध्ये एक बालिकाले आफूहरूलाई एक कर्मचारीले यौनहिंसा गरेको बताएकी थिइन् ।
उक्त बालगृहबाट कालिकोट, बर्दिया र कैलाली घर भएका बालबालिकाको उद्धार गरिएका थिए । जसमध्ये धेरैजसो माओवादी जनयुद्धमा संलग्न पूर्वघाइते छापामारका छोराछोरी पनि थिए । प्रहरीले बालबालिकामाथि यौनहिंसा गरेको भन्दै बालगृह चलाएका प्रताप रानालाई समेत पक्राउ गरेर बालयौन दुर्व्यवहारमा मुद्दा चलाएको थियो ।

समाचार

नेपालले आफ्नै सेक्युरिटी प्रेस ल्याउन लागेको छ

- कान्तिपुर संवाददाता
प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

 

राहदानीको बोलपत्र किन र कसरी रद्द भयो ?
नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सबै विषय पछि तपाईंहरूलाई बताउँछौं ।


बोलपत्र हाल्ने क्षमता नपुगेर वा उनीहरूमा केही समस्या भएर रद्द भएको हो ?
होइन । वास्तवमा नेपालले आफ्नै सेक्युरिटी प्रिन्टिङ प्रेस लिने प्रक्रिया निष्कर्षमा पुग्न लागेको छ । त्यसैले आफ्नै प्रेस हुने भएपछि हामी अलि फरक ढंगले जानुपर्ने भयो । त्यसैले त्यो संख्या (५० लाख) का लागि टेन्डर गरिराख्नुपर्दैन । त्यो प्रेस आउने भन्ने सोचले ‘रिएडजस्ट’ मात्र गरेको हो ।


सेक्युरिटी प्रेस आउने अवस्था बनिसकेको छ र ?
हो । त्यसको सविस्तार पछि तपाईंहरूलाई स्पष्ट पार्नेछौं ।


रद्द गर्दा सार्वजनिक खरिद कानुनको उल्लंघन हुँदैन ?
त्यस्तो हँॅुदैन किनभने प्रक्रिया नै सुरु भएको छैन ।


बोलपत्रमा प्रस्ताव पठाउने कम्पनीले हामीसँग मुद्दामामिलामा गएर क्षतिपूर्ति माग्न सक्दैनन् ?
बिड भइसकेको स्थिति होइन । डिब भइसकेपछि बल्ल लिस्टहरू (छनोट भएका कम्पनी) आउने हो ।

Page 4
वाग्मती प्रदेश

नारायणी पुलबाट बारम्बार आत्महत्या

जेठयता पुलबाट हामफालेर हरेक महिनाजसो आत्महत्याका घटना हुने गरेका छन् । पुलको बार होचो भएकाले स्थानीय युवाले तारजालीको छेकबार राख्न माग गर्दै आएका छन् ।
- रमेशकुमार पौडेल
गैंडाकोट र नारायणगढ जोड्ने नारायणी पुल । पछिल्लो समय हरेक महिनाजसो यही पुलबाट नदीमा हामफालेर आत्महत्याका घटना हुने गरेका छन् । फाइल तस्बिर ः कान्तिपुर

(चितवन) - कात्तिक १० गते तिहारको रौनक उत्कर्षमा थियो । साढे ४ बजेतिर नारायणी पुलबाट दुईजना व्यक्ति नदीमा हाम फालेको खबर फैलियो । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार पुलबाट हामफाल्ने ३०/३५ वर्षका व्यक्तिमात्रै मृत फेला परे । अर्का अझै बेपत्ता छन् । सँगै हामफालेका व्यक्तिहरू बाबुछोरा भएको स्थानीयको अनुमान छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लका अनुसार मृत फेला परेका व्यक्तिको पनि अझैसम्म नाम ठेगाना खुल्न सकेको छैन । फेला परेको शव भरतपुर अस्पतालमा राखिएको छ ।
घटनाको भोलिपल्ट भरतपुरका श्रीप्रसाद दवाडीले फेसबुकमा ‘नारायणी पुलमा मेस जाली हाल्नुपर्‍यो’ भन्ने सन्देशसहितको स्टाटस लेखे । त्यसयता पनि उक्त पुलबाट हाम फालेर थप एकजनाको ज्यान गइसकेको छ ।
प्रहरीबाट प्राप्त जानकारीअनुसार जेठयता सो पुलबाट हामफालेर हरेक महिनाजसो आत्महत्याका घटना हुने गरेका छन् । देशको मुख्य ठूला तीन नदीमध्येको नारायणीमा बनेको पाँच सय मिटर लामो पुलको बार भने खासै अग्लो छैन । त्यसैले मान्छेहरू हामफालेर नदीमा बिलाइरहेका छन् ।


चार महिनामा पाँचको आत्महत्या
तिहारपछि पनि कात्तिक २० गते एकजना व्यक्ति पुलबाट हामफाले । उनलाई गम्भीर अवस्थामा उद्धार गरियो । तर, उपचारका क्रममा उनलाई बचाउन सकिएन । यो घटनासहित साउनयता मात्रै नारायणी पुलबाट नदीमा हामफाल्नेको संख्या पाँच पुगेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भदौमा भने यसखालको घटना भएन । साउनमा एक र असोजमा एकजनाले नदीबाट हामफालेको कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) एकनारायण कोइरालाले बताए ।
साउन २५ मा कृष्णमाया तामाङ नाम गरेकी महिला नारायणी नदीको पुलबाट हामफालेकी थिइन् । त्यसपछि असोज १ गते भरतपुरका उदार पौडेलले त्यही बाटो रोजे । यस्तो घटना यो आर्थिक वर्षको मात्रै होइन । जेठ र असारमा पनि पुलबाट नदीमा हामफालेका घटना प्रहरी रेकर्डमा छ । त्यसबेला दुई महिलाले आत्महत्या गरेका थिए ।
जेठ ३१ गते स्कुटरको पछाडि बसेर गैंडाकोटतर्फबाट नारायणगढ आउँदै गरेकी युवती स्कुटरबाट झरेर पुलदेखि नदीमा हामफालिन् । पूर्वी चितवन वीरेन्द्रनगरकी कविता सापकोटाले त्यसरी आत्महत्या गरेको पाँच दिन नहुँदै त्यस्तै घटना दोहोरियो । असार ५ गते पश्चिम चितवन पार्वतीपुरकी विमला कुमालले पनि आत्महत्याका लागि नारायणी नदी रोजिन् ।


छैन सुरक्षा प्रबन्ध
नारायणी पुलको बार होचो छ । ‘कि पुलको बार अग्लो हुनुपर्‍यो । वा त्यहाँबाट खसेको मान्छे सिधै नदीमा नखस्ने जाली राख्नुपर्‍यो,’ चितवनका एसपी दानबहादुर मल्लले भने । सडक विभाग वा स्थानीय निकायले यसबारेमा योजना बनाउनुपर्ने उनको सुझाव छ । केही वर्षअघि पुलको आडमा सशस्त्र प्रहरीको उद्धार टोली बस्थ्यो तर अहिले त्यो पनि छैन ।
चार वर्षअघि ०७२ सालको असार १७ मा भरतपुर–१ रामनगरको एउटा तन्दुरी रेस्टुरेन्टमा काम गर्ने ३७ वर्षका व्यक्ति नारायणी पुलबाट हामफाले । तर, तत्कालै सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । ०७१ पुस २९ मा सशस्त्र प्रहरीको उद्धार युनिट बसेपछि जीवितै उद्धारका यस्ता घटना अरू पनि भएका थिए । तर, अहिले मान्छे हामफालेपछि नदीमा भेल भएका बेला शव भेटिन्न ।
सशस्त्र प्रहरीको कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किशोर प्रधान नारायणगढको पुलचोक र फेवातालमा उद्धार टोली तैनाथ गरेको बताउँछन् । ‘अहिले त्यहाँको पोस्टमा उद्धारकहरू भए/नभएको के रहेछ म बुझ्छु । नभए टोली खटाउने व्यवस्था गर्छु,’ एसएसपी प्रधानले भने ।


छेकबार राख्न माग
भरतपुरका युवाहरूले पुलमा तारजालीको छेकबार राख्न माग गर्दै आएका छन् । भरतपुर महानगर युवा सञ्जालको नेतृत्वमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई कात्तिक १८ गते ज्ञापनपत्र बुझाएको छ । सञ्जालले गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेललाई पनि ज्ञापनपत्र बुझायो । पुलबाट बारम्बार आत्महत्याका घटना हुन थालेपछि स्थानीय सरकार गम्भीर हुनुपर्ने सञ्जालको माग छ ।
‘पुलबाटै आत्महत्याका घटना बढ्न थालेको कुराले गम्भीर बनाएको छ । सजिलै हामफाल्न सकिने अवस्था जुन छ, त्यसलाई रोक्न के गर्न सकिन्छ प्राविधिकहरू लगाएर अध्ययन गर्ने योजना छ,’ मेयर दाहालले भनिन् । गैंडाकोट नगरपालिका र सडक कार्यालयसँग पनि समन्वय गरेर काम गर्ने उनको भनाइ छ ।

वाग्मती प्रदेश

प्रदेश मातहत जग्गा नहुँदा निर्माण प्रभावित

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– सार्वजनिक जग्गा प्रदेश सरकार मातहत नहुँदा विकास निर्माणको काममा बाधा पुगेको छ । प्रदेश सरकारले घोषणा गरेको विभिन्न बहुवर्षे योजना सार्वजनिक जग्गा प्रदेश सरकार मातहतमा नहुँदा अगाडि बढ्न नसकेको गुनासो आएको हो । प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा निर्माण गर्ने घोषणा गरेको एकीकृत बस्ती, प्रत्येक स्थानीय तहमा शान्ति पार्क, अटो भिलेज, कोल्ड स्टोर, सशस्त्र प्रहरीको बाहिनी भवन तथा अन्य भौतिक पूर्वाधार निर्माण प्रदेश सरकार मातहतमा जग्गा नहुँदा प्रभावित भएको छ ।
एकीकृत बस्ती निर्माणका लागि प्रदेश सरकारले गतवर्ष विनियोजन गरेको २१ करोड रुपैयाँ र प्रत्येक स्थानीय तहमा शान्ति निर्माणका लागि विनियोजित दुई करोड रुपैयाँमध्ये एक करोड ४० रुपैयाँ बजेट फ्रिज भएको छ । शान्ति पार्कका लागि यस वर्ष पनि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशको मुकाममा निर्माण हुनुपर्ने सशस्त्र प्रहरीको बाहिनी भवन निर्माण कार्यसमेत आवश्यक जग्गा उपलब्ध नहुँदा योजनामै सीमित भइरहेको छ । प्रदेश ३ को राजधानी हेटौंडा बजार क्षेत्रबाट हटाएर यातायातका सवारी मर्मत गर्ने स्थान एकीकृत ‘अटो भिलेज’ निर्माण गर्ने घोषणा भए पनि जग्गाको अभावमा त्यो काम अगाडि बढ्न सकेको छैन । प्रदेशले विभिन्न कार्यक्रम घोषणा गरे पनि सार्वजनिक जग्गा प्रदेश मातहतमा नहुँदा भौतिक पूर्वाधार निर्माणमा जटिल समस्या सिर्जना भइरहेको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताए । भौतिक पूर्वाधार निर्माणका लागि प्रदेशका विभिन्न मन्त्रालयले स्थानीय तहसँगको साझेदारी गरेर कार्यविधि बनाए पनि कार्यान्वयनमा जान सकेका छैनौं,×’ उनले भने, ‘संघीय सरकारमार्फत् जग्गा प्राप्ति प्रक्रिया झन्झटिलो हुँदा धेरै काम प्रभावित भएका छन् ।’ एकीकृत बस्ती होस् वा प्रदेश–३ को सबै स्थानीय तहमा शान्तिपार्क बनाउने योजना, सबै प्रक्रिया सकिँदा पनि जग्गा प्राप्त भएको छैन । प्रदेश सरकारले यस विषयमा निर्णय गरिदिन संघीय सरकारलाई आग्रह गरे पनि निर्णय नहुँदा समस्या भइरहेको मुख्यमन्त्री पौडेलले बताए ।
प्रदेश वा स्थानीय तहले निर्माण गर्ने भौतिक पूर्वाधारका लागि सार्वजनिक जग्गा चाहिने र त्यस्ता जग्गा वनसँग जोडिएकाले निर्माण कार्यमा समस्या भइरहेको प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल बताउँछन् । ‘सार्वजनिक जग्गाहरू सबै वनको नाममा रहेका छन् । त्यस्ता जग्गालाई प्रदेश वा स्थानीय तह मातहत ल्याउन धेरै समस्या रहेको छ । प्रक्रिया झन्झटिलो र लामो पनि छ । जसले गर्दा बर्सेनि बजेट फ्रिज भइरहेका छन्,’ मन्त्री जम्मकट्टेलले भने । अब बन्ने भौतिक पूर्वाधार सामुदायिक वनकै कार्यविधिमा उल्लेख गरेर प्रदेश सरकारले लगानी गर्ने तयारी गरिरहेको उनले बताए ।
स्थानीय तहका प्रमुखहरूले पर्याप्त जग्गा नभएकाले आवश्यकताअनुसार भौतिक पूर्वाधार विकास गर्न विभिन्न समस्या भोगिरहेको गुनासो आए पनि समाधानमा पहल गर्न नसकिएको मन्त्री जम्मकट्टेलको गुनासो छ । ‘स्थानीय तहले जग्गा खरिदका लागि बजेट छुट्याए पनि महँगो भएका कारण नसकेको गुनासो हामीलाई आउने गरेको छ । कतिपय स्थानीय तहले पूर्वाधार निर्माण गर्नका लागि उपयुक्त सार्वजनिक जग्गा नहुँदा उचित स्थानमा जग्गा किन सक्ने वातावरण तयार बनाइदिन हामीलाई आग्रह गर्ने गरेका छन्,’ उनले भने, ‘हामीले त्यसका लागि खासै सहयोग गर्न सकेका छैनौं ।’

वाग्मती प्रदेश

योजना सम्झौता गर्न वडामै नगरको टोली

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– मकवानपुरको एक स्थानीय तहले वडावडामा पुगेर उपभोक्ता समितिहरूसँग योजनाको सम्झौता गर्ने अभियान चलाएको छ । योजनाबारेमा स्थानीयलाई जानकारी गराउन र सम्झौता गर्न कार्यालय धाउन नपरोस् भन्ने उद्देश्यले थाहा नगरपालिकाले अभियान सञ्चालन गरेको हो ।
‘नगरपालिका कार्यालयमा आउन उपभोक्ताहरूलाई समय लाग्ने र योजनाका बारेमा सम्बन्धित सरोकारवालाले विस्तृत जानकारी नपाउने भएकाले वडावडामा पुगेर योजनाको सम्झौता गर्ने अभियान चलाइएको हो,’ नगर प्रमुख लवशेर विष्टले भने, ‘वडा/वडामा गएर योजनाको सम्झौता गरेपछि समयमा नै काम सुरु हुनुका साथै सम्पन्न हुने अपेक्षा गरेका छौं ।’ नगरपालिकाले ११ र १२ वडाबाट सुरु गरेको यो अभियान शुक्रबारसम्म ६ वटा वडामा सम्पन्न गरिसकेको छ । ७, ८, ९, १०, ११ र १२ वटा वडामा ४० वटा योजनाको सम्झौता भइसकेको नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले बताए ।
असारे विकासलाई निरुत्साहित गर्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षको फागुनसम्म सम्पूर्ण योजना सम्पन्न गरेर फरफारक गरिसक्नुपर्ने कार्यतालिका बनाएको छ । कार्यतालिकामा भदौ २० गतेसम्म उपभोक्ता समिति निर्माण गरिसक्नुपर्ने र उक्त समितिहरूलाई असोज १० गतेसम्म तालिम दिइसक्नुपर्ने समयावधि तोकिएको थियो । ‘कात्तिक मसान्तसम्ममा योजनाहरूको सम्झौता गरिसक्नुपर्नेछ,’ अधिकृत पुरीले भने, ‘कार्यतालिकाअनुसार योजनाहरूको सम्झौता भइरहेको छ ।’
नगरपालिकाको चालू आवमा ११६ वटा विकास निर्माणका योजना छन् । उक्त योजनामा करिब २२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । ‘फागुन महिनासम्म नगरपालिकाको विकास निर्माणको काम मात्र होइन, शिक्षा, कृषि, स्वास्थ्य क्षेत्रका काम पनि सम्पन्न गर्ने कार्यतालिका बनाएका छौं,’ मेयर विष्टले भने, ‘देखाउन मात्र कार्यतालिका बनाइएको होइन, कार्यान्वयन गरेर छाड्छौं ।’

वाग्मती प्रदेश

भ्रमण वर्ष लक्षित गरी धमाधम नयाँ होटल

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– नेपाल भ्रमण वर्ष लक्षित गरेर मकवानपुरको उत्तरी क्षेत्रमा रहेको दामन–पालुङमा धमाधम नयाँ होटल खुल्न थालेका छन् । विशेषगरी विदेशबाट फर्किएका युवाहरूले होटलमा लगानी गरेको थाहानगर होटल एसोसिएसनका अध्यक्ष शिवकुमार खत्रीले बताए । दामन–पालुङ घुम्न आउने पर्यटकको संख्या बढ्न थालेपछि यहाँको होटल व्यवसाय फस्टाएको उनको भनाइ छ । ‘यहाँका अधिकांश होटलले भौतिक पूर्वाधार निर्माणदेखि सेवा प्रवाहसम्मलाई नयाँपन दिन खोजेका छन्,’ उनले भने ।
अहिले दामन–पालुङ क्षेत्रमा घुम्न आउने तेस्रो मुलुकका पर्यटकको संख्या घटे पनि स्वदेशी भने बढेका छन् । ‘विशेषगरी भारतीय पर्यटक बढी आउने गरेका छन्,’ थाहा नगरपालिकाका मेयर लवशेर विष्टले भने । हाल दामन–पालुङ क्षेत्रमा सानाठूला गरी ६५ वटा होटल तथा लज सञ्चालनमा छन् ।
प्रदेश ३ सरकारले त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरे पनि भौतिक पूर्वाधारको काममा भने चासो नदेखाएको थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान बताउँछन् । प्रदेश सरकारले अघिल्लो वर्ष ‘घुम्न जाऔं दामन’ वर्ष घोषणा गरे पनि भौतिक पूर्वाधार निर्माण तथा प्रचारप्रसारका लागि केही काम नगरेको स्थानीय व्यवसायीको गुनासो छ ।
दामनबाट १५ वटाभन्दा बढी हिमाल देखिन्छन् । हिमाल हेर्न सहज होस् भनेर भ्युटावरसमेत निर्माण गरिएको छ ।

Page 5
उपत्यका

'मन्दिर ठडियो, शोभा हरायो'

चाँगुनारायण परिसरको क्षतिग्रस्त संरचनाको बेवास्ता गर्दै शुक्रबार दर्शनार्थीले घन्टौं लाइन बसेर दर्शन गरे । पुनर्निर्माणमा ढिलाइ हुँदा चौघेरा सत्तल अस्तव्यस्त छ
- लीला श्रेष्ठ,सीमा तामाङ
विश्वसम्पदामा सूचीकृत प्राचीन चाँगुनारायण मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा शुक्रबार लागेको दर्शनार्थीको भीड । तस्बिर ः अंगद ढकाल/कान्तिपुर

(भक्तपुर) - कतै पुनर्निर्माणका लागि भत्काइएका गारो, कतै जस्ताको छानाको भरमा अडिएको जीर्ण सत्तल । क्षतिग्रस्त चौघेरा सत्तलबीच उभिएको छ, चाँगुनारायण मन्दिर । शुक्रबार हरिबोधिनी एकादशीका दिन चाँगुनारायण मन्दिरमा विशेष भिड लाग्यो । मन्दिर परिसरको क्षतिग्रस्त संरचनाको बेवास्ता गर्दै दर्शनार्थीले घन्टौं लाइन बसेर चाँगुनारायणको दर्शन गरे ।
‘चार वर्षअघि आउँदा जस्तो थियो, क्षतिग्रस्त संरचना अहिले नि उस्तै,’ कागेश्वरी मनोहरा ब्रह्मखेलकी राजकेशरी खड्काले भनिन्, ‘मन्दिर त बनेछ, वरिपरिको क्षतिग्रस्त सत्तलले मन खल्लो बनायो ।’ मन्दिर ठडिए पनि परिसरको अस्तव्यस्त संरचनाले विश्व सम्पदामा सूचीकृत प्राचीन चाँगुनारायणको शोभा नदेखिएको उनले गुनासो गरिन् ।
चाँगुनारायणसँग जोडिएको संरचना संरक्षणमा सरोकारवाला निकायले विशेष पहल गर्नुपर्ने दर्शनार्थीको सुझाव छ । ‘मन्दिरको प्रवेशद्वारदेखि नै अव्यवस्थित छ,’ ललितपुर गोदावरीका आकाश कार्कीले भने, ‘यो आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रप्रतिको बेवास्ता हो । दर्शनार्थीका लागि एकछिन अडिन सक्ने ठाउँ छैन । धराप सत्तलको भग्नावशेषसमेत हटाइएको छैन ।’ बसपार्क, शौचालय, मन्दिरको सिँढी व्यवस्थापनमा नगरपालिकालगायत संरक्षणमा लाग्नुपर्ने उनको सुझाव छ ।
०७२ वैशाखको भूकम्पले जीर्ण बनेको चाँगुनारायण, किलेश्वर महादेव मन्दिरले भने दुई वर्षमै मुहार फेर्‍यो । तर, चौघेरा सत्तल बेवास्तामा पर्‍यो । पुरातत्त्व विभाग भक्तपुरका प्रमुख मोहन सिं लामाले भने सत्तल पुनर्निर्माण सुरु भइसकेको बताए । विभावका अनुसार सत्तल पुनर्निर्माणका लागि ०७५ माघ २ मा लुम्बिनी/सानु सुवाल/पवन जेभीसँग सम्झौता भएको हो । उत्तर पश्चिम र पश्चिमतर्फको पाटीमध्ये मूल पूजारीको सामान राख्ने सत्तलबाहेक क्षतिग्रस्त संरचना भत्काउने कार्य भएको उनले बताए ।
‘मूल पूजारीको पूजा सामग्री राख्ने ठाउँ अभावमा चरणबद्ध किसिमबाट पुनर्निर्माण गर्ने तयारी भएको छ,’ उनले भने । मन्दिरको उत्तर पश्चिमतर्फ भने भूक्षय हुन सक्ने जोखिम रहेकाले टेको पर्खाल (रिटेनिङ वाल) को कार्यपछि मात्र सत्तल पुनर्निर्माण गर्नुपर्ने देखिएको प्रमुख लामा बताउँछन् । सत्तल निर्माणका लागि पुरातत्त्व विभागले सुरुमा २४ करोड रुपैयाँ लागत अनुमान गरेको थियो । बोलपत्र प्रक्रियामा जाँदा निर्माण कम्पनीसँग करसहित १६ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको लामाले बताए । ०७८ असार १५ भित्र चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तल निर्माण गरिसक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको छ । सत्तल पुनर्निर्माणका लागि निर्माण सामग्री ओसारपोसारमा समेत समस्या देखिएको कार्यालयले जनाएको छ ।
‘निर्माण सामग्री मन्दिर परिसर पुर्‍याउन नयाँ प्रविधि अपनाउन खोजे पनि सफल भएन,’ लामाले भने । सत्तल पुनर्निर्माणका लागि कलात्मक झ्याल, ढोका आवश्यक पर्ने र पर्याप्त काठको अभावका कारण पनि समयमा काम हुन नसकेको पुरातत्त्व विभागले जनाएको छ ।

उपत्यका

चार नारायणमा दर्शनार्थीको भीड

- कान्तिपुर संवाददाता

भगवान् विष्णुको पूजा, आराधना, भजन कीर्तन र व्रत बसी तुलसीको बिहे गरी मुलुकभर शुक्रबार हरिबोधनी एकादशी मनाइएको छ । भगवान् विष्णु जागा भएको अवसरमा विशेषगरी चाँगुनारायण, इचंगुनारायण, विशंखुनारायण र शेषनारायणमा भक्तजनहरूले पूजाअर्चना गर्ने प्रचलन छ । चार नारायण पुग्न नसक्ने भक्तजनहरू राजधानीको चिकंमुगलमा अटकनारायण, ब्रह्मटोलमा बन्देनारायण र उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गर्छन् । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूलो ढुंगामा स्थापना गरिएको छ ।
‘ठूलो एकादशीमा बुढानीलकण्ठको दर्शन गर्न पाउनु नै अहोभाग्य हो,’ बनेपाका मनोरथ तिमल्सिनाले भने, ‘हरेक वर्ष एकादशी मेलामा आउने गरेको छु ।’ सुकेधाराकी पिकीं शाह र कपनकी सुनिता न्यौपानेले भने मन्दिरमा लाइन देखेर बाहिरबाटै पूजा गरे । ‘यत्रो लाइन छ, कसरी मन्दिर पस्न सकिएला र,’ शाहले भनिन्, ‘दर्शन गर्न पाउनु नै ठूलो कुरा हो, मन्दिर नै पस्नुपर्छ भन्ने छैन ।’
बिहीबार मध्यरातदेखि नै भक्तजनहरू लाइन बसे पनि १ बजेदेखि मन्दिरको ढोका खोलिएको श्री १ हजार ८ स्वामी निगमानन्द महाराजले बताए । ‘८ वर्षको अन्तरालमा यस वर्ष भक्तजनको अधिक भीड देखियो,’ उनले भने । कात्तिक महिनाभरि दर्शनार्थीहरू आउने भए पनि हरिबोधिनी एकादशीदेखि पूर्णिमासम्म भक्तजनको भीड हुने बूढानीलकण्ठ मेला सञ्चालन समितिका संयोजक तथा ३ नम्बरका वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

उपत्यका

आज मानव साङ्लोले टुँडिखेल घेर्दै

- दामोदर न्यौपाने

(काठमाडौं) - कक्षा ८ मा पढ्ने सितास्मा राम्जेत धिमेबाजा बजाउँदै वसन्तपुरको तल्लो सहर (दक्षिण कोलिग्राम) का बस्तीबस्ती घुमिन् । ११ मा पढ्ने मुकान स्थापित पनि भुस्या बाजा बजाउँदै टोल परिक्रमा गरे । भुस्या र धिमे बोकेका युवायुवतीदेखि बालबालिकासम्मको समूहले बिहीबार र शुक्रबार प्राचीन सहर संगीतमय बनाए । सांस्कृतिक बाजा व्यवस्थापन गर्ने दुलाक्षी परिवार क्लबका अध्यक्ष श्याम महर्जनले भने, ‘अकुपाई टुँडिखेल अभियानलाई सफल बनाउन आह्वान गर्दै हामीले बस्तीलाई उत्सवमय बनाएका छौं ।’
इन्द्रजात्रा र सेतो मत्स्येन्द्रनाथ लगायतको रथयात्रा गर्ने रुट प्रयोग गरी बाजागाजासहित सन्देश दिइएको सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले बताए ।
फेग धिमेबाजा खलका अनुप श्रेष्ठ खुला ठाउँमा नेवार बस्तीको सम्बन्ध जोडिएकाले हामी पनि सहभागी छौं है भनेर सन्देश दिन टोलटोल घुमेको बताउँछन् । ‘बाजाले संस्कृति जोगाउँछ,’ उनले भने, ‘टुँडिखेल पनि हाम्रो संस्कृति हो । शनिबार हुने कार्यक्रममा पनि नेवारी बाजा घन्काउँछौं ।’
अभियानका नाममा राजनीति ः मेयर शाक्य
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘अकुपाई टुँडिखेल’ अभियानलाई राजनीतिक रङको संज्ञा दिएका छन् । शंखधर दिवसको अवसर पारेर विष्णुमती किनारामा निर्माणधीन पार्कमा आयोजित कार्यक्रममा मेयर शाक्यले भने, ‘यो अभियानलाई राजनीतिक स्वार्थ पूरा गर्ने अस्त्र बनाउनु हुँदैन ।’
अभियानमा सहभागी हुन सम्पदा संरक्षण अभियानले निम्ता दिन खोजे पनि मेयर शाक्यले समय दिएनन् । ‘हामीले भेट्न खोज्यौं, भेट दिनुभएन । फोन गर्‍यौं, फोन पनि उठाउनुभएन,’ अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठले भने । मेयर शाक्यले भेट नदिएपछि उनीहरूले यही कार्यक्रमस्थलमा गएर निम्ता दिएका थिए । निम्ता ग्रहण गरेपछि मेयर शाक्यले मञ्चबाट राजनीतिक रङ नदिन आग्रह गरे । ‘टुँडिखेल खोल्नुपर्छ भन्ने मागमा महानगर सकारात्मक छ । खुलामञ्चमा चिनियाँ ठेकेदार केही समयलाई बसेका हुन् । उनीहरूले छाड्छन्,’ उनले भने, ‘महानगरको संस्कृति जोगाउने दायित्व महानगरको पनि हो । तर, अभियानको नाममा राजनीतिक उद्देश्य पूरा गर्ने र जस लिने काम गर्नु हुँदैन ।’


जनताको अभियान हो, सहभागी हुन्छु ः उममेयर खड्गी
मेयर शाक्यले राजनीतिक रङ दिन नहुने अभिव्यक्ति दिएलगत्तै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भने अभियान राजनीतिसँग नजोएिको बताइन् । जनताको अभियान भएकाले जनतालाई साथ दिनुपर्ने उनले भनाइ थियो । ‘टुँडिखेल अतिक्रमण भएकै हो । हामी जनताबाटै चुनिएकाले उनीहरूले हाम्रो साथ खोजेका छन् । जनताले बोलाएको ठाउँमा म सहभागी हुन्छु,’ खड्गीले भनिन्, ‘ममात्र होइन, मैले अरूलाई पनि सहभागी हुन आह्वान गरेकी छु ।’


आज मानव साङ्लोले टुँडिखेल घेर्नेटुँडिखेल अतिक्रमणको चपेटामा परेपछि खुला राख्न दबाब दिन अभियानले आज मानव साङ्लोले टुँडिखेल घेर्दै कार्यक्रम तय गरेको छ ।
खुलामञ्चमा अस्थायी बसपार्क छ भने अनधिकृत पसलहरू सञ्चालनमा छन् । यहीँ निर्माण सामग्री राखिएको छ, कामदारको अस्थायी बसोबास छ । सेनाले विभिन्न भौतिक संरचना पनि टुँडिखेल क्षेत्रभित्रै विस्तार गरिरहेको छ । ‘विश्व स्वतन्त्रता दिवसको अवसरमा शनिबार टुँडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम राखेका हौं,’ अभियन्ता आलोकसिद्धि तुलाधरले भने, ‘यो अभियानले अरू ठाउँका पनि खुला क्षेत्र जोगाउन जागरण ल्याउनेछ ।’

Page 6
विविधा

दाइजो हैन, शिक्षा

- मधु राई

के स्थानीय, के राष्ट्रिय, गत असोज महिना उपर्युक्त शीर्षकका समाचारले विराटनगरबासीको ध्यानाकर्षण गरायो । विराटनगर–११ निवासी उमा सहनीकी नातिनी रञ्जना सहनीको विहारको अररिया ताकियाका भीम बहरदारसँग आठ महिनाअघि मागी विवाह भएको थियो । विवाहमा थोरै दाइजो दिएको भन्दै पटक–पटक रञ्जनालाई मानसिक र शारीरिक यातना दिइयो । आर्थिक अवस्था कमजोर भए पनि बिहेताका तिलकस्वरुप ज्वाइँलाई रु. १ लाख ७० हजार दिए भने केही समय अघिमात्रै पुनः मोटरसाइकल किनिदिएका थिए, सहनी परिवारले । त्यसपछि पुनः पसल सञ्चालन गर्ने भन्दै दुई लाख नगद माग गर्दै आएका बहरदार परिवारले पन्ध्र दिनअघि उक्त रकम उपलब्ध नगराए छोरीको हत्या गर्ने भनी खबर पठाएका थिए । उनीहरूको माग पूरा नभएपछि बहरदार परिवारले रञ्जनाको हत्या गरी घरदेखि करिब एक किलोमिटर दूरीमा परमान खोलामा शव फालेको समाचार बाहिरियो ।
पछिल्लो समय मधेसी समुदायमा छोरीलाई शिक्षित बनाउनुभन्दा पनि उमेर नपुगी बिहे गराइदिन हतारिने अभिभावकका कारण रञ्जनाजस्ता छोरीबुहारीहरूले दाइजोका कारण अनाहकमा ज्यान गुमाउनुपरेको छ । बहुसंख्यक यस्ता अभिभावक ‘आ छोरीलाई पढाएर के नै हुन्छ र, त्यही चुलाचौकाको काम त गर्नु हो’ भन्ने गर्छन् । यस्तो सोचबाट ग्रस्त अभिभावकहरू चाँडोभन्दा चाँडो छोरीलाई बिहे गरिदिएर पठाउन चाहन्छन् । दाइजोकै कारण कतिपय छोरीहरू बिहेपछि प्रताडना सहन नसकी माइतीमै बस्न थालेका छन् ।
आर्थिक अवस्था कमजोर हुने अभिभावकहरूलाई आफ्नै जातबिरादरीले पनि बेवास्ता गरेको देखिन्छ । यतिका दिन बितिसक्दा पनि उमा सहनीको पक्षमा मधेसी समुदाय मौन देखिन्छ । छिमेकी लगायत आफ्नै समुदायको मौनताले पनि दाइजो प्रताडित छोरीनातिनीहरूको वर्तमानमात्र हैन, भविष्य नै अन्धकारमय बन्दै गएको छ । खासगरी मधेसमा दाइजो प्रथाले नराम्ररी जरा गाडेको छ । छोरीनातिनीलाई सामर्थ्यभन्दा बढी दाइजो दिने र छोराको बिहेमा दाइजो लिने प्रचलनले मधेसी समुदाय नराम्ररी थलिएको छ । ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने अभिभावकले आफ्नो सामर्थ्यले नभ्याए पनि धुमधामका साथ छोराछोरीको बिहे गरिदिने प्रचलन बढ्दैछ ।
आफै पनि छोरानातिको बिहेमा दाइजो लिने गरेकाले पनि कतिपयले छोरीनातिनीहरू दाइजोका कारण प्रताडित हुँदा त्यति धेरै हारगुहार गर्नसकेका छैनन् । यी र यस्ता कतिपय कुसंस्कारहरूले निरन्तरता पाइरहनुका मुख्य कारण अशिक्षा र गरिबी हो भन्ने कुरा मधेसी समुदायका अभिभावकले बुझ्नसकेका छैनन् । विशेषगरी अशिक्षित सासूआमाहरू छोराको बिहेमा टन्न दाइजो पाइन्छ भनेर छोरानातिलाई हुर्काइरहेको पाइन्छ । यसरी हुर्केका अधिकांश छोरानातिहरू दाइजो पाइन्छ भन्नेमा विश्वस्त हुन्छन् । कदाचित दाइजो नपाएपछि यस्ता परिवारले बुहारीलाई प्रताडना दिन्छन् । यति गर्दा पनि दाइजोको माग पूरा नभए हत्या गर्नसमेत गरेका दृष्टान्त छन् ।
यस्तो दाइजोरूपी सर्पले छोरीनातिनीको जीवनलाई मात्र डसेको छैन, यसले सभ्य समाजलाई लज्जित तुल्याएको छ । बुहारी कति शिक्षित छे र कहाँ जागिर खान्छे भन्ने कुरा पो वरपक्षले विचार गर्नुपर्छ । छोरीनातिनीलाई पनि छोरानातिसरह उच्चशिक्षा हासिल गर्ने अवसर पो प्रदान गर्नुपर्छ ।


छोरा र छोरीप्रति
समान व्यवहार गर्नुपर्छ । तर औंलामा गन्न सकिने हुनेखाने अभिभावकहरूले छोरीनातिनीलाई पनि छोरानातिसरह उच्चशिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको देखिन्छ । तर यस्ता पढेलेखेका अभिभावकहरू समग्र समाजका लागि अनुकरणीय बन्नसकेका छैनन् । यसो हुनुमा जनप्रतिनिधिहरूको विरोधाभाष चरित्र पनि एक हो । बहुसंख्यक सांसद, मन्त्री लगायत स्थानीय निकायका जनप्रतिनिधिहरूले दाइजो प्रथाविरुद्ध बोल्ने गरेको कहीँ कतै सुनिएको छैन । उनीहरूको यस्तो विरोधाभाष चरित्रका कारण पनि मधेसमा दाइजो प्रथाले मलजल पाइरहेको देखिन्छ ।
वर्तमान शिक्षाले दाइजो लिनुदिनु सामाजिक अपराध हो भन्ने सिकाउनसकेको छैन । कानुनले पनि दाइजो प्रथालाई सामाजिक अपराध हो भने पनि कानुनविद्हरूले यसबारे जनचेतना टोलसमाजमा पुर्‍याउनसकेका छैनन् । दाइजोको कारण पीडितलाई न्याय दिलाउन पनि समाज चुक्ने गरेको छ ।


वास्तवमा नेपाली समाजमा
दाइजो प्रथा उन्मूलन गर्न अभिभावकहरूलाई नै प्रशिक्षण दिन जरुरी छ । यसका साथै विद्यालयको पाठ्य–सामग्रीमा समेत दाइजो सम्बन्धी पाठ समावेश गर्न जरुरी छ । प्राथमिक तहदेखि नै दाइजो प्रथाको दुष्परिणामबारे अवगत गराउने हो भने माध्यमिक तह पुग्दा छोरानातिहरू स्वयं दाइजोको विरुद्ध खडा हुन सक्छन् । यसरी नेपाली शिक्षा र कानुनले दाइजो प्रथालाई उन्मूलन गर्न सामाजिक अभियान थाल्ने हो भने ढिलो–चाँडो देशभर दाइजो प्रथा उन्मूलन हुनसक्छ ।

विविधा

किन कायम छ छाउपडी ?

- नरेन्द्र मिश्र

 

‘पाँचौं दिन चोखिन्छु भनेर औधी खुसी थिई, आगो बालेर सुतेकी रहिछ । विचरी सधैंको लागि आँखा चिम्लेर गई’, डोटी पूर्वीचौकी गाउँपालिका–५ की २१ वर्षीया बुहारी पार्वती बोगटीको आफ्नो घरभन्दा केही परको सानो खाली घरमा छाउ बस्दा निसास्एिर मृत्यु भएपछि उनकी सासू लक्ष्मी बोगटीले व्यक्त गरेको दुखित, भावपूर्ण र मार्मिक भनाइ हो, यो । त्यस दिन झरी परेर ओसिएको सानो कोठामा आगो तापेर एक्लै सुतेकी पार्वतीको निसास्सिएर मृत्यु भएको थियो (कान्तिपुर, १९ माघ २०७५) । नेपालको सुदूर र मध्यपश्चिमका केही पहाडी जिल्लाका गाउँमा छाउपडी प्रथा अझै कायम छ । महिलाले रजस्वला वा महिनावारीको बेला छाउगोठमा बस्नुपर्ने बाध्यात्मक सामाजिक नियम छ । त्यसबेला महिलालाई पूर्णरूपमा अछूत (अपवित्र) भएको मानिन्छ । र सोही अनुरुप महिलाले छाउगोठमा बसी अनिवार्य छाउपडी प्रथा पालना गरुन् भन्ने सामाजिक चाहना पाइन्छ । यसले गर्दा छाउ बार्ने क्रममा महिलाको अकालमा मृत्यु हुनुका साथै पारिवारिक/सामाजिक सम्बन्धहरू पनि खलबलिरहेको छ ।
कानुनी रूपमा छाउपडी सामाजिक कुप्रथाको रूपमा परिभाषित भइसकेको छ । तापनि यो प्रथा सुर्खेत, दैलेख, कालिकोट, अछाम, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा र डोटी लगायत केही जिल्लामा कायमै छ । त्यसमा पनि स्थानीय जनमानसमा छाउपडी प्रथा बुझ्ने, पालना गर्ने र गराउने
आफ्आफ्नै सामाजिक, सांस्कृतिक र धार्मिक मान्यता छन् । यो प्रथालाई बाह्य परिवेशबाट बुझ्ने र व्याख्या गर्ने शैली भने फरक पाइन्छ । त्यसैले छाउपडी प्रथासँग जेलिएका तर्क, वितर्क र सामाजिक सवालका प्रश्नहरू हामीमाझ धेरै छन् । किन छाउपडी प्रथाले हाम्रो आफ्नो घर, परिवार, आफन्त, छरछिमेक वा समाजका महिलालाई अझसम्म पनि पछ्याइरहेको छ ? के यो प्रथासँग टाँसिएर बसेका हाम्रा परम्परागत धार्मिक मान्यताहरू त बढी जिम्मेवार छैनन् ? अनि किन अन्य जिल्लामा महिनावारी बार्ने तर छाउगोठमा बस्ने प्रचलन छैन ? यो प्रथालाई हामी हाम्रो समाजबाट तत्काल हटाउन सक्छौं कि सक्दैनौं ?

समाज र महिनावारी
नेपाली समाजको बनावट र चरित्र फरक छ । त्यसैले यहाँका विभिन्न जातजाति, जनजाति, समूह, समुदाय वा समाजमा महिनावारी बार्ने/नबार्ने आ–आफ्नै प्रचलन छन् । कुनै समुदाय र स्थानमा महिनावारी बारिँदैन भने कुनैमा लचिलो त कुनैमा कठोरतासाथ बार्ने प्रचलन छ । जस्तो कि विशेषतः सहरी समाजमा महिनावारी आफ्नै घरभित्रको सुरक्षित वातावरणमा बारिन्छ भने कर्णालीका गाउँहरूमा छाउगोठमा । त्यसैले महिनावारीप्रतिका धारणा पनि आ–आफ्नो धर्म, संस्कृति, परम्परा, भू–बनोट, परिस्थिति र समाज अनुसार फरक–फरक हुने गर्छ । महिनावारीप्रतिको सामाजिक/सांस्कृतिक धारणा सबै समुदायमा एकै प्रकारको हुन्छ भन्ने छैन । यो त समाजको उद्विकास वा समाज विकास सँगसँगै विशेष परिस्थिति, कालखण्ड र स्थानहरूमा समाजले नै उत्पादन र आकार दिएका सामाजिक नियम, व्यवहार, मूल्य–मान्यता मात्र हुन् ।
परिणाम, नेपाली समाजमा महिनावारीप्रतिका धारणा कतै खुकुलो त कतै कसिलो भएर बसेको छ ।
पितृसत्ता र महिनावारी
छाउपडी प्रथा कहिलेदेखि सुरु भयो भन्ने कुनै निश्चित समयरेखा पाइँदैन । यद्यपि विभिन्न खोज तथा अनुसन्धानका आधारमा मानवको स्थायी बसोबासको सुरुको अवस्था र कृषियुगको थालनीसँगै विभिन्न धार्मिक, सामाजिक मूल्य–मान्यता परिपक्व हुँदै आएको पाइन्छ । यसै क्रममा पितृसत्तात्मक सामाजिक संरचनाले समाजमा पकड जमाउँदै गर्दा उत्पादन प्रणालीमाथिको स्वामित्व, शक्तिको प्रयोग, पारिवारिक निर्णायक भूमिका र धार्मिक कार्यमा पुरुषको सर्वोच्चता कायम हुँदै गयो । जतिजति समाजमा महिनावारीप्रतिका पितृसत्तात्मक धारणाहरू बढ्दै गए, त्यति नै महिलालाई हेर्ने दृष्टिकोण पनि साँघुरिँंदै गयो । महिलाको शरीरसँग जोडिएका शुद्धता र अशुद्धताको धार्मिक/सांस्कृतिक मान्यताहरू स्थापित हुँदै गए । यसले गर्दा महिनावारी बार्ने वा छाउपडी प्रथा कायम हुनपुग्यो ।
महिनावारी महिलामा हुने एक अनिवार्य जैविक र स्वाभाविक प्रक्रिया भए पनि यसमा धर्म, विश्वास, आस्था र सामाजिक जीवन पनि त्यतिकै गाँसिएको छ । त्यसैले महिनावारी हुँदा महिलाको प्रकृति, जल, बोटबिरुवा, जनावरका साथै मानिस/मानिस बीचको सम्बन्धलाई पवित्र र अपवित्र भएको मानेर सोही अनुसारको सामाजिक व्यवहार गरिन्छ । पवित्र र अपवित्रको भावना, सोच, अवधारणा र व्यवहार पनि समाजकै उत्पादन हो । किनभने अपवित्रलाई पवित्र बनाउने विधि पनि हाम्रै समाजसँग छ, जो समाजले नै निर्माण गरेको हो । जस्तो कि महिनावारीपछि शुद्ध हुनलाई नुहाउने, कपडा धुने र विभिन्न वस्तु तथा स्थानलाई गहुँत/सुनपानी छर्केर पवित्र बनाउने आदि गरिन्छ ।
निषेध, धर्म र सामाजिक संरचना
यतिबेला हाम्रा गाउँ, सहरमा छाउपडीप्रतिका दुइटा धारणा पाइन्छ । जसमा छाउ बार्ने र निषेधात्मक कार्यले महिलालाई महिनावारीका बेला आराम मिल्नुका साथै मनो–सामाजिक सन्तुष्टि प्रदान गर्छ भन्ने छ । किनभने यस समयमा घरभित्रका साथै केही बाहिरका काम गर्न महिलालाई निषेध गरिएको हुन्छ । यो परापूर्व कालदेखि मानिँदै आएको धार्मिक परम्परा हो भन्ने धारणा छ । तर यी तर्क विशेषतः ग्रामीण समाजका पुरानो पुस्तामा बढी पाइन्छ । छाउ बार्नुलाई सामाजिक विभेद, असमानता र अन्यायसँग गाँसिएको पक्ष बलियो छ । परिणाम सामाजिक सन्तुष्टिभन्दा पनि पीडादायी दैनिकी, व्यवहार र अनुभूतिहरू बढी छन् । महिनावारी बार्न छाउगोठमा बस्दा महिलाले निसास्एिर मृत्यु, जंगली जनवारको आक्रमण, सर्पको टोकाइ, कमजोर स्वास्थ्य अवस्थादेखि बलात्कारसम्मका घटना भोग्नुपरेको छ । महिनावारी हुँदा महिलालाई उपभोग्य वस्तु, खाद्यान्न, बोटबिरुवा, पाठपूजा, लत्ताकपडा, भान्छाकोठादेखि दैनिक क्रियाकलापसम्म बन्देज लगाएका घटना छँदैछन् ।

धर्म, विश्वास र सामाजिक संरचना
किन विभिन्न निकाय तथा संघ/संस्थाहरूको छाउपडी न्यूनीकरणको प्रयास सफल हुन सकिरहेको छैन ? यसका मुख्य तीन कारण देखिन्छन् । पहिलो, पितृसत्तात्मक सामाजिक संरचना जहाँ पुरुषप्रधान सामाजिक मूल्य–मान्यताले उच्च स्थान पाइरहेको छ । दोस्रो, शिक्षाको सामाजिक प्रभावमा कमी हुनु वा शिक्षाले स्थानीय सामाजिक जीवनशैलीलाई समेट्न नसक्नु पनि हो । यसले गर्दा हामी शिक्षाको माध्यमबाट गढेर बसेका अन्धविश्वास, अदृश्य शक्ति र कुप्रथाहरूलाई समाजबाट पन्छाउन सकिरहेका छैनौं । तेस्रो, अभौतिक संस्कृतिमा आएको सुस्त परिवर्तन पनि हो । यसको अर्थ हाम्रो ज्ञान, सोच, विचार, मान्यता आदिलाई समय अनुसार बदल्न सकिरहेका छैनौं । जस्तो कि एउटै घरभित्र बसेर छाउबारे देउता रिसाउँछन्, वंश नाश तथा पारिवारिक क्षति हुन्छ, सामाजिक सम्बन्धहरू बदलिन्छन् वा अनिष्ट हुन्छ भन्ने धार्मिक मान्यताले हामीलाई अझसम्म पनि छोड्न सकिरहेको छैन । त्यसैले राज्यले कुप्रथाको रूपमा परिभाषित गरे पनि जानी–नजानी छाउपडी प्रथा अँगालिरहेका छौं ।
भनिन्छ, जहाँ महिला र पुरुषको हैसियतलाई समान मानिन्छ, त्यहाँ महिलामाथि हुने विभेद, हिंसा र दमन आफै कम भएर जान्छ । त्यसैले हामीले बुझ्ने समृद्धिमा विशाल भौतिक संरचनाको निर्माण, सहरहरूको विस्तार, प्रविधिको अधिकतम प्रयोग र सडकहरूको निर्माणमात्र नभई समृद्धि त व्यक्ति, परिवार, समुदाय वा भनौं समाजमा रहेका प्रत्येक नागरिकले अनुभूत गर्ने सुख र खुसीसहितको समाज निर्माण गर्नु हो । यसको अर्थ हामीमा भएका अन्धविश्वास, कुप्रथा, कुसंस्कार, विभेद, सामाजिक अन्यायलाई अन्त्य गर्नु पनि हो । त्यसका लागि छाउपडी प्रथासँग सम्बन्धित कानुनको प्रभावकारी कार्यान्वयन गर्न तत्कालीन र दीर्घकालीन योजनासाथ अघि बढ्नुपर्छ । तत्कालीन योजनामा शिक्षा, स्वास्थ्य, आर्थिक अवस्थाका साथै लैंगिकमैत्री पारिवारिक जनचेतना बढाउनुपर्छ भने दीर्घकालीन योजना अन्तर्गत नयाँ पुस्तालाई छाउपडी प्रथाको वस्तुपरक विश्लेषण गर्नसक्ने धार्मिक, सांस्कृतिक र पारिवारिक सामाजिकीकरणको खाँचो छ ।
मिश्र रत्नराज्यलक्ष्मी क्याम्पसमा समाजशास्त्र विभागका विभागीय प्रमुख हुन् ।

 


‘पाँ चौं दिन चोखिन्छु भनेर औधी खुसी थिई, आगो बालेर सुतेकी रहिछ । विचरी सधैंको लागि आँखा चिम्लेर गई’, डोटी पूर्वीचौकी गाउँपालिका–५ की २१ वर्षीया बुहारी पार्वती बोगटीको आफ्नो घरभन्दा केही परको सानो खाली घरमा छाउ बस्दा निसास्एिर मृत्यु भएपछि उनकी सासू लक्ष्मी बोगटीले व्यक्त गरेको दुखित, भावपूर्ण र मार्मिक भनाइ हो, यो । त्यस दिन झरी परेर ओसिएको सानो कोठामा आगो तापेर एक्लै सुतेकी पार्वतीको निसास्सिएर मृत्यु भएको थियो (कान्तिपुर, १९ माघ २०७५) । नेपालको सुदूर र मध्यपश्चिमका केही पहाडी जिल्लाका गाउँमा छाउपडी प्रथा अझै कायम छ । महिलाले रजस्वला वा महिनावारीको बेला छाउगोठमा बस्नुपर्ने बाध्यात्मक सामाजिक नियम छ । त्यसबेला महिलालाई पूर्णरूपमा अछूत (अपवित्र) भएको मानिन्छ । र सोही अनुरुप महिलाले छाउगोठमा बसी अनिवार्य छाउपडी प्रथा पालना गरुन् भन्ने सामाजिक चाहना पाइन्छ । यसले गर्दा छाउ बार्ने क्रममा महिलाको अकालमा मृत्यु हुनुका साथै पारिवारिक/सामाजिक सम्बन्धहरू पनि खलबलिरहेको छ ।
कानुनी रूपमा छाउपडी सामाजिक कुप्रथाको रूपमा परिभाषित भइसकेको छ । तापनि यो प्रथा सुर्खेत, दैलेख, कालिकोट, अछाम, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा र डोटी लगायत केही जिल्लामा कायमै छ । त्यसमा पनि स्थानीय जनमानसमा छाउपडी प्रथा बुझ्ने, पालना गर्ने र गराउने आफ्आफ्नै सामाजिक, सांस्कृतिक र धार्मिक मान्यता छन् । यो प्रथालाई बाह्य परिवेशबाट बुझ्ने र व्याख्या गर्ने शैली भने फरक पाइन्छ । त्यसैले छाउपडी प्रथासँग जेलिएका तर्क, वितर्क र सामाजिक सवालका प्रश्नहरू हामीमाझ धेरै छन् । किन छाउपडी प्रथाले हाम्रो आफ्नो घर, परिवार, आफन्त, छरछिमेक वा समाजका महिलालाई अझसम्म पनि पछ्याइरहेको छ ? के यो प्रथासँग टाँसिएर बसेका हाम्रा परम्परागत धार्मिक मान्यताहरू त बढी जिम्मेवार छैनन् ? अनि किन अन्य जिल्लामा महिनावारी बार्ने तर छाउगोठमा बस्ने प्रचलन छैन ? यो प्रथालाई हामी हाम्रो समाजबाट तत्काल हटाउन सक्छौं कि सक्दैनौं ?

समाज र महिनावारी
नेपाली समाजको बनावट र चरित्र फरक छ । त्यसैले यहाँका विभिन्न जातजाति, जनजाति, समूह, समुदाय वा समाजमा महिनावारी बार्ने/नबार्ने आ–आफ्नै प्रचलन छन् । कुनै समुदाय र स्थानमा महिनावारी बारिँदैन भने कुनैमा लचिलो त कुनैमा कठोरतासाथ बार्ने प्रचलन छ । जस्तो कि विशेषतः सहरी समाजमा महिनावारी आफ्नै घरभित्रको सुरक्षित वातावरणमा बारिन्छ भने कर्णालीका गाउँहरूमा छाउगोठमा । त्यसैले महिनावारीप्रतिका धारणा पनि आ–आफ्नो धर्म, संस्कृति, परम्परा, भू–बनोट, परिस्थिति र समाज अनुसार फरक–फरक हुने गर्छ । महिनावारीप्रतिको सामाजिक/सांस्कृतिक धारणा सबै समुदायमा एकै प्रकारको हुन्छ भन्ने छैन । यो त समाजको उद्विकास वा समाज विकास सँगसँगै विशेष परिस्थिति, कालखण्ड र स्थानहरूमा समाजले नै उत्पादन र आकार दिएका सामाजिक नियम, व्यवहार, मूल्य–मान्यता मात्र हुन् ।
परिणाम, नेपाली समाजमा महिनावारीप्रतिका धारणा कतै खुकुलो त कतै कसिलो भएर बसेको छ ।


पितृसत्ता र महिनावारी
छाउपडी प्रथा कहिलेदेखि सुरु भयो भन्ने कुनै निश्चित समयरेखा पाइँदैन । यद्यपि विभिन्न खोज तथा अनुसन्धानका आधारमा मानवको स्थायी बसोबासको सुरुको अवस्था र कृषियुगको थालनीसँगै विभिन्न धार्मिक, सामाजिक मूल्य–मान्यता परिपक्व हुँदै आएको पाइन्छ । यसै क्रममा पितृसत्तात्मक सामाजिक संरचनाले समाजमा पकड जमाउँदै गर्दा उत्पादन प्रणालीमाथिको स्वामित्व, शक्तिको प्रयोग, पारिवारिक निर्णायक भूमिका र धार्मिक कार्यमा पुरुषको सर्वोच्चता कायम हुँदै गयो । जतिजति समाजमा महिनावारीप्रतिका पितृसत्तात्मक धारणाहरू बढ्दै गए, त्यति नै महिलालाई हेर्ने दृष्टिकोण पनि साँघुरिँंदै गयो । महिलाको शरीरसँग जोडिएका शुद्धता र अशुद्धताको धार्मिक/सांस्कृतिक मान्यताहरू स्थापित हुँदै गए । यसले गर्दा महिनावारी बार्ने वा छाउपडी प्रथा कायम हुनपुग्यो ।
महिनावारी महिलामा हुने एक अनिवार्य जैविक र स्वाभाविक प्रक्रिया भए पनि यसमा धर्म, विश्वास, आस्था र सामाजिक जीवन पनि त्यतिकै गाँसिएको छ । त्यसैले महिनावारी हुँदा महिलाको प्रकृति, जल, बोटबिरुवा, जनावरका साथै मानिस/मानिस बीचको सम्बन्धलाई पवित्र र अपवित्र भएको मानेर सोही अनुसारको सामाजिक व्यवहार गरिन्छ । पवित्र र अपवित्रको भावना, सोच, अवधारणा र व्यवहार पनि समाजकै उत्पादन हो । किनभने अपवित्रलाई पवित्र बनाउने विधि पनि हाम्रै समाजसँग छ, जो समाजले नै निर्माण गरेको हो । जस्तो कि महिनावारीपछि शुद्ध हुनलाई नुहाउने, कपडा धुने र विभिन्न वस्तु तथा स्थानलाई गहुँत/सुनपानी छर्केर पवित्र बनाउने आदि गरिन्छ ।
निषेध, धर्म र सामाजिक संरचना
यतिबेला हाम्रा गाउँ, सहरमा छाउपडीप्रतिका दुइटा धारणा पाइन्छ । जसमा छाउ बार्ने र निषेधात्मक कार्यले महिलालाई महिनावारीका बेला आराम मिल्नुका साथै मनो–सामाजिक सन्तुष्टि प्रदान गर्छ भन्ने छ । किनभने यस समयमा घरभित्रका साथै केही बाहिरका काम गर्न महिलालाई निषेध गरिएको हुन्छ । यो परापूर्व कालदेखि मानिँदै आएको धार्मिक परम्परा हो भन्ने धारणा छ । तर यी तर्क विशेषतः ग्रामीण समाजका पुरानो पुस्तामा बढी पाइन्छ । छाउ बार्नुलाई सामाजिक विभेद, असमानता र अन्यायसँग गाँसिएको पक्ष बलियो छ । परिणाम सामाजिक सन्तुष्टिभन्दा पनि पीडादायी दैनिकी, व्यवहार र अनुभूतिहरू बढी छन् । महिनावारी बार्न छाउगोठमा बस्दा महिलाले निसास्एिर मृत्यु, जंगली जनवारको आक्रमण, सर्पको टोकाइ, कमजोर स्वास्थ्य अवस्थादेखि बलात्कारसम्मका घटना भोग्नुपरेको छ । महिनावारी हुँदा महिलालाई उपभोग्य वस्तु, खाद्यान्न, बोटबिरुवा, पाठपूजा, लत्ताकपडा, भान्छाकोठादेखि दैनिक क्रियाकलापसम्म बन्देज लगाएका घटना छँदैछन् ।

विविधा

मधुमेहले आँखामा पार्ने असर

म धुमेह नसर्ने रोग हो । यो संसारभरि नै विकराल स्वास्थ्य समस्याको रूपमा बढ्दै गइरहेको छ । पछिल्ला वर्षहरूमा अल्पविकसित मुलुकहरूमा मधुमेहबाट प्रभावितहरूको संख्या धेरै देखिएको छ । त्यसमा पनि सहरी क्षेत्रमा यो संख्या निकै बढेको पाइन्छ ।
नेपालमा मधुमेह एक प्रमुख स्वास्थ्य समस्याको रूपमा बढ्दै गइरहेको छ । हाल करिब १० लाख मधुमेहबाट प्रभावित भएको अनुमान छ । सहरी क्षेत्रमा यो रोग बढी देखिएको छ ।
मधुमेहले शरीरका महत्त्वपूर्ण र संवेदनशील अंगहरूमा असर पुर्‍याउँछ । खास गरेर मृगौला, आँखा, मुटु, दिमाग, नसा र खुट्टाहरूमा मधुमेहको असर प्रत्यक्ष रूपमा देखापर्छ । मधुमेह भएकाहरूलाई आँखाको समस्या अन्यको तुलनामा दुई गुण बढी हुन्छ भने अन्धोपनको समस्या २५ औं गुणा बढी हुन्छ ।
मधुमेहले आँखाको प्रायः सम्पूर्ण भागमा असर पुर्‍याउँछ । तर पनि यो रोगका बिरामीमा मात्र देखिने असर ‘डाइबेटिक रेटिनोपेथी’ले आँखाको भित्री भागमा रहेको दृष्टि पर्दामा समेत असर पुर्‍याउँछ ।
मधुमेहले खासगरी शरीरका रक्तनलीहरूमा असर गर्छ । आँखाको पनि भित्री भागमा रहेको स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली जसलाई दृष्टि पर्दा (रेटिना) भनिन्छ, यस भागको रक्तनलीमा मधुमेहले असर पुर्‍याउँछ । रक्तनलीमा असर गर्न थालेपछि रेटिनामा रक्तस्राव हुने, मुख्य रेटिनाको देख्ने भाग सुन्निने र नयाँ हानिकारक रक्तनलीको विकास भई आँखाभित्र अत्यधिक रक्तस्राव हुन थाल्छ । यदि समयमै उपचार नभएको खण्डमा रेटिना खुम्चने र अन्त्यमा आँखाको दृष्टि पूर्णरूपमा बिग्रन्छ । मधुमेहले आँखाको रेटिनामा पुर्‍याउने यिनै असरलाई ‘डाइबेटिक रेटिनोपेथी’ भनिन्छ ।
डाइबेटिक रेटिनोपेथी हुँदा सुरुको अवस्थामा बिरामीमा कुनै पनि लक्षण देखिँदैनन् । रेटिनामा निकै क्षति भइसकेपछि मात्र आँखा देख्न विस्तारै धमिलो हुने गर्छ । आँखामा धेरै रक्तस्राव हुँदा एक्कासी आँखा धमिलो हुने र आँखा अगाडि छायाजस्तो देखापर्छ ।
डाइबेटिक रेटिनोपेथीले आँखाको रेटिनामा एकपटक धेरै असर गरेपछि उपचारपश्चात पनि पहिलेको अवस्थामा फर्काउन सकिँदैन । मधुमेहका बिरामीमध्ये करिब एक तिहाइलाई डाइबेटिक रेटिनोपेथीको समस्या देखिन्छ भने तिनीहरूमध्ये करिब एक तिहाइलाई तुरुन्त आँखा उपचारको आवश्यकता हुन्छ ।
मधुमेह बढ्दै जाँदा डाइबेटिक रेटिनोपेथीको जोखिम पनि बढ्दै जान्छ । मधुमेह भएको २० वर्षमा पहिलो प्रकार (३० वर्ष अगाडि देखापर्ने मधुमेह) को मधुमेहका प्रायः सबै बिरामीलाई डाइबेटिक रेटिनोपेथी देखापर्छ भने दोस्रो प्रकारको मधुमेह (३० वर्षपछि देखापर्ने मधुमेह) करिब दुई तिहाइ बिरामीलाई देखा परिसकेको हुन्छ । मधुमेह पत्ता लाग्दासमेत विकसित मुलुकका करिब ५ प्रतिशत बिरामीलाई डाइबेटिक रेटिनोपेथी देखापरेको अध्ययनले देखाएका छन् । हाम्रो देशमा यो संख्या अझ बढी पाइएको छ । यसको प्रमुख कारण मधुमेह समयमै पत्ता नलागी रगतमा चिनीको मात्रा नियन्त्रणमा नहुनु नै हो ।
रगतमा चिनीको मात्रा नियन्त्रणमा नहुनेहरू, उच्च रक्तचाप भएकाहरू र रगतमा खराब चिल्लोको मात्रा बढी हुनेहरूलाई डाइबेटिक रेटिनोपेथी छिटो देखापर्छ ।
त्यस्तै रक्तअल्पताको समस्या, मृगौलाको समस्या, गर्भावस्थाको समय र धूमपान गर्नेहरूमा डाइबेटिक रेटिनोपेथी
बढी देखिन्छ ।
त्यसैले यी व्यक्तिहरूको विशेष सावधानी राख्नुपर्ने हुन्छ भने रोगको पनि उपचार गरी नियन्त्रण राख्नु जरुरी हुन्छ । मधुमेहले निम्त्याउने डाइबेटिक रेटिनोपेथी अन्धोपनको एक प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठनका अनुसार कुल अन्धोपनमध्ये ४.८ प्रतिशत डाइबेटिक रेटिनोपेथीकै कारण हुन्छ । विकसित मुलुकहरूमा समेत काम गर्ने उमेर समूहका व्यक्तिहरूमा अन्धोपनको प्रमुख कारण डाइबेटिक रेटिनोपेथी भएको पाइएको छ । अल्पविकसित देशहरूमा भने ९० प्रतिशतभन्दा बढी डाइबेटिक रेटिनोपेथीबाट अन्धोपन भएको पाइन्छ । यसको मुख्य कारण रगतमा चिनीको मात्रा नियन्त्रणमा नहुनुका साथै समयमै रोगको पहिचान र उपचारमा ढिला हुनगएकोले हो ।
डाइबेटिक रेटिनोपेथीको उपचार गम्भीरता अनुसार लेजर पद्धति, आँखाको भित्री भागमा औषधि पुर्‍याउने विशेष खाले सुई र शल्यक्रियाद्वारा गरिन्छ । डाइबेटिक रेटिनोपेथीको उपचार ढिला हुनगएमा उपचारपश्चात पनि राम्रो दृष्टि फर्काउन सकिँंदैन । अतः रोगको समयमै पहिचान र उपयुक्त उपचार गर्नसके दृष्टि बचाउन सकिन्छ ।
रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्ने, उच्च रक्तचाप र रगतमा चिल्लोको मात्राको उपचार र नियन्त्रण गर्ने, गर्भावस्थामा कम्तीमा तीन महिनामा एकपटक रेटिना परीक्षण गर्ने, धूमपान र मध्यपानबाट बच्नुका साथै मृगौलाका बिरामीले नियमित आँखा परीक्षण गराउनुपर्छ ।
वर्षमा एकपटक आँखा परीक्षण गराउनु पर्छ । डाइबेटिक रेटिनोपेथी भइसकेका बिरामीको रोगको गम्भीरता अनुसार नेत्र चिकित्सकको सल्लाहमा आँखाको परीक्षण र उपचार गराउनुपर्ने हुन्छ । मधुमेहका बिरामीमा देखिने अन्य आँखाका समस्यामा मोतीविन्दु, जलविन्दु, आँखाको नसाको समस्या, सुक्खापन र संक्रमणका समस्या मुख्य हुन् ।

डा.रबा थापा
थापा तिलगंगा आँखा प्रतिष्ठानकी नेत्ररोग तथा रेटिना विशेषज्ञ हुन् ।

Page 7
विविधा

रस राजनीति

सिउँडी
- विमल निभा

राजनीतिमा रसको के स्थान अथवा महत्त्व रहेको छ, यो एक साहित्यिक व्यक्ति भएको नाताले मलाई थाहा हुने कुरै भएन । परन्तु नेपालको ताजा राजनीतिक परिदृश्य पूर्णरूपेण रसमय रहेकोमा कुनै आशंका रहेको छैन । यहाँका नेता तथा उपनेता (राजनीतिक अभिनेता पनि) हरूका उदार रसनिष्पत्तिको के बखान गर्नु ?
वर्तमान सदनका भूतपूर्व सभामुख कमरेड कृष्णबहादुर महरा रसमयताको मामलोमा एक उदाहरणीय राजनीतिक व्यक्तित्व भएर देखापरेका छन् । केही दिन अघिसम्म उनी शृंगार रसमा चुर्लुम्म डुबेका थिए । कुन्नि, कसरी एक दिन त्यो करुण रसमा फेरियो (हेर्नोस्, रोशनी शाही–कृष्णबहादुर महरा प्रकरण) । र यही हठात् परिवर्तनको परिणामस्वरुप अहिले कमरेड महरा बलात्कारको गम्भीर आरोप बोकेर राजधानीस्थित सर्वोच्च न्यायालयको नित्यनिरन्तर परिक्रमा गरिरहेका छन् । होइन, कालकोठरी–लुन्ठित अवस्थामै पुगिसकेका छन् क्यारे !
(आजको अखबार पढ्नुछ मलाई) । अब यो सारा रसहरूमा कुनचाहिंँ रस हुनगयो भनेर म अलमलिएको छु । कदाचित राजनीतिमा नभएर साहित्यमा भएको भए खाँटी शान्त रस हुन्थ्यो ।
नेपालको राजनीतिमा एउटा अर्को रस हाल प्रस्फुटित भएर पुष्पित एवं पल्लवित भइरहेको छ । यसलाई कुन रसको श्रेणीमा राख्ने ? एउटा कोणबाट अवलोकन गरेमा विलकुलै वीररस प्रतीत हुन्छ । किन्तु यथार्थमा यो शत–प्रतिशत भयानक रस हो । मेरो स्पष्ट संकेत नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता मोहम्मद आफताव आलमको झन्डै सवा दशक अगाडिको कुकृत्य (यहाँ केवल ‘कृत्य’ शब्दको प्रयोग पर्याप्त नभएकोले ‘कु’ थप्नुपर्ने भएको छ) तर्फ हो । दुई दर्जन जतिका व्यक्तिलाई जीवितावस्थामै
ह्वारह्वार्ती बलिरहेको इँटाभट्टामा डढाउने कार्यलाई के भन्ने ? हाम्रा कांग्रेसी भाइ–बन्धुहरूले चाहिँं निर्धक्क आफ्नो नेता आलमको वीररसपूर्ण सत्कार्य भनिरहेका छन् । अन्यथा नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवादेखि लिएर नेपाल विद्यार्थी संघका फुच्चाफाच्चा कांग्रेसीहरूसमेत किन ‘इँटाभट्टा काण्ड’को समर्थनमा ओर्लिन्थे ? (अद्भुत रस !) ।
केही दिनदेखि सामाजिक सञ्जालमा एउटा रंगीन तस्बिर भाइरल भएको छ । यसमा नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा अतिशय कुपित मुद्रामा देखिएका छन् । याने रातारात आँखा (चस्माबाटै देखिने), पूरै खुम्चिएको निधार र डेढ डिग्रीको हिसाबले बक्र मुखाकृति । यसले सहजभाव, विभाव र अनुभावमा रौद्ररसको थोक भावमा उत्पत्ति गरेको छ । वास्तवमा उनी आफ्नो विरोधमा सडकमा ओर्लिएका नेविसंघे केटाहरूमाथि सशब्द क्रुद्ध भएका हुन् । अब तस्बिरका शब्दहरू सुन्नु सम्भव नभएकोले म के भनुँ ? परन्तु त्यहाँ सशरीर उपस्थित व्यक्तिहरूले जे भनिरहेका छन्, त्यो विचारणीय छ । यसको कारण के हो भने ‘श्लील’ शब्दमा एक अतिरिक्त ‘अ’ थप्नुपर्ने परिस्थितिको अनायास सिर्जना भएको छ । त्यसउसले रौद्ररस विखण्डित भएर विभत्स रस भएको पनि हुनसक्छ । अथवा विकल्पमा एउटा अर्को रस पनि रहेको छ । अर्थात् सर्वांग भयानक रस ।
साहित्यमा कुल नौ रस अर्थात् नवरसको सविस्तार उल्लेख भए तापनि राजनीतिमा भने रसको कुनै सीमितता रहेको छैन । यहाँ अपरिमित रसहरू सलबलाइरहेका देख्न सकिन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुहारमा एकसाथ जति रसहरू सञ्चारित हुन्छन्, त्यसको गणना गरेर साध्य छैन । (अद्भुत रस !) । अँ यही पार्टीका अर्का वरिष्ठ नेता कमरेड माधवकुमार नेपालको सपाट मुखमण्डल भने सदैव रसविहीन देखापरेको छ । त्यहाँ कुनै भूमिगत खालको गोप्य रस प्रवाहित भइरहेको भए अर्कै कुरो हो । यस सम्बन्धमा म के भन्न सक्छु ? हाम्रा प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली पनि माधव कमरेडसरह रस शून्यतामा हाल विराजमान छन् । यसको कारण उनको स्वास्थ्य हो । अहिले उनी बिरामी भएर अस्पताल भर्ना भएका छन् । अथवा बिसेक भएर बाहिर आइसके कि ? जे होस्, कमरेड प्रधानमन्त्री ओलीको गाथमा आराम छैन । तसर्थ हामीले उनको वाणीबाट प्रायः निःसृत भइरहने हास्य रसबाट बलात् वञ्चित हुनुपरेको छ । म हास्य रसप्रेमी भएकोले उनको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्छु ।

विविधा

चिनियाँ तेस्रो क्रान्ति

 

चीन माओकालमा अणुबमसम्म निर्माण गर्न सफल भयो । उक्त कालखण्डमा प्रविधिभन्दा श्रमको प्रयोगबाट रोजगारी सिर्जना हुने बुझाइ थियो । तेङ सियाओ पिङकालमा आएर मात्र प्रविधि विकासको रहस्यलाई चीनले राम्ररी बुझेको हो । जापानले बीस वर्षमा प्रविधिमा गरेको प्रगतिलाई चीनको अवस्थासँग तुलना गर्दै चिनियाँ नेता तेङ सियाओ पिङले भनेका थिए कि चीन अर्को बीस वर्ष यसरी नै बर्बाद गर्न सक्दैन । सन् १९८८ चेकोस्लाभाकिया राष्ट्रपतिको हुसाकसँगको एक भेटघाटमा विज्ञान तथा प्रविधि विकासको प्रश्नमा आफ्नो एउटा सैद्धान्तिक निष्कर्ष सुनाउँदै उनले भनेका थिए, ‘मार्क्सले विज्ञान र प्रविधि उत्पादक शक्तिको एक भाग हो भनेको ठिकै हो । तर मेरो विचारमा विज्ञान र प्रविधि प्राथमिक उत्पादक शक्ति हो । हामीले अन्य क्षेत्रको खर्च कटौती गरेर पनि शिक्षा र प्रविधि विकासमा लगानी गर्न आवश्यक छ ।’
प्राचीन चीन (अझ सोङ र ताङ वंश) उन्नयनको केन्द्र थियो । तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर चीन भ्रमण गर्दा तेङले प्रसङ्गवश उनलाई भनेका थिए कि कागज, नोट, बारुद, सिल्क र सेरामिक हामीले बनाएका हौं । अरु बाँकी तपाईहरूले । औद्योगिक क्रान्तिको अगुवा देशको नेतृत्वलाई यसो भनेर तेङले मानव सभ्यताका महत्त्वपूर्ण चिज चीनले उन्नयन गरेको संकेत गरेका हुन् । औद्योगिक क्रान्तिको नेता बेलायतले प्रविधिमा विकास गरिरहँदा चीनको मिङ वंशले प्रविधि सिक्न ध्यान दिन सकेन । औद्योगिक क्रान्तिले ल्याएको प्रविधिलाई आत्मसात गर्न नसक्नु चिनियाँ पराजय र पतनको महत्त्वपूर्ण कारणमध्ये एक थियो ।
यस बीचमा याङ्सी र ह्वाङहो नदीमा धेरै पानी बगिसकेको छ । चीनले इतिहासको नमिठो पाठबाट शिक्षा लिएको छ । सुधार र खुल्लापनको सुरुवातसँगै पश्चिमा उत्पादनको नक्कल गर्दै चिनियाँ उद्यमीहरूले सामानहरू बनाउन सिके । धनी हुँदै जाँदा चिनियाँहरू पश्चिमा कम्पनीबाट प्रविधि सिक्न र किन्न थाले । गुणस्तरीय शिक्षा, अनुसन्धान र प्रविधिमा लगानीमार्फत चीन उन्नयनतर्फ गइसक्यो । अहिले अनुसन्धान र विकासमा ४०९ अर्ब अमेरिकी डलर लगानी गरेर चीनले अमेरिकालाई नजिकबाट (४९७ विलियन डलर) पच्छाएको छ । चीनले १५ अर्ब अमेरिकी डलर त ‘टेक फन्ड’मा छुट्याइएको छ । हुवावे संसारकै सबैभन्दा बढी अनुसन्धान र विकासमा लगानी गर्ने र ‘पेटेन्ट राइट’ दर्ता गर्ने चिनियाँ कम्पनी हो । सूचना प्रविधिका कतिपय अत्याधुनिक कौशलहरूमा चीनले उच्च सफलता पाएको छ । ‘टेक टाइटन अफ चाइना’की लेखिका रेविका फेनिनका अनुसार चीनले नक्कलमात्र गर्‍यो भन्नु हास्यासपद कुरा हो । बरु चीनले कसरी छोटो समयमा प्रविधिको विकास गरी विश्वलाई चुनौती दिइरहेको छ भन्ने ख्याल गर्नुपर्छ ।
‘मेड इन चाइना २०२५’ भिजनका साथ राष्ट्रपति सीले चीनलाई वैज्ञानिक उन्नयनको केन्द्र बनाउने घोषणा गरे । उनले ‘उन्नयन प्राथमिक उत्पादक शक्ति हो’ भनेका छन् । रणनीतिक महत्त्वको यो सोच एतिहासिक भौतिकवादको सार हो । श्रमलाई प्राथमिक उत्पादक शक्ति ठान्ने वाम परम्पराभन्दा यसले उन्नयनलाई श्रम प्रक्रियाकै समुच्य मान्छ । चीनले सस्तो श्रम र प्रविधिलाई राम्ररी उपयोग गरी व्यापक उत्पादनमार्फत आफ्नो निरन्तर आर्थिक वृद्धि गर्नसकेको थियो । चीनका लागि अब त्यो अवधि सकिएको छ । चीनसँग पैसा छ, तर श्रम महँंगो भएको छ । चीनको आफ्नै जबर्जस्त आन्तरिक बजार पनि बनेको छ । चीन प्रविधि उन्नयनमार्फत गुणस्तरीय अर्थतन्त्रमा नजाँदा मध्यआयकै चक्रमा फँस्न सक्थ्यो । कुनै बेला खेलौनाजस्ता लाग्ने चिनियाँ मोबाइल र इलेक्ट्रोनिक सामानहरू प्रविधि नक्कलका सुरुवाती नमुना हुन् । आइफोन र सामसुङसँग प्रतिस्पर्धा गर्दै विकास भएका हुवाई र ओप्पो मोबाइलहरू प्रविधि उन्नयनका नमुना हुन् ।
हाइस्पिड सिन्कान्सेन रेलमा बसेर जापान यात्रा गर्दा तेङ सियायो पिङको दिमागमा पनि त्यस्तै रेल बनाउने सपना थियो । मित्सुविसी, युरोपेली र क्यानडेली कम्पनीबाट उनीहरूले ती प्रविधि सिके । फलस्वरुप चीन आज द्रुतगतिको रेल सञ्जालको अगुवा देश हो । बेइजिङबाट शाङघाई चल्ने ४२० किमि प्रतिघन्टा क्षमताको रेल विश्वकै द्रुतगतिको हो । चिनियाँ सुपर कम्प्युटरहरू संसारकै शक्तिशाली मानिन्छन् । बेइजिङ–शाङघाई क्वान्टम केवल लाइन विश्वकै पहिलो र ह्याक नहुनेमा पर्छ । विश्वकै ठूलो क्वान्टम स्याटेलाइट र सी ९२९ ठूलो जेट विमान, चन्द्रमा नदेखिने क्षेत्रमा यान अवतरण, कृत्रिम चन्द्र र सूर्य निर्माणका परियोजना, हरित प्रविधिमा लगानी, आर्कटिक अन्वेषण, मरुभूमि हरियाली र म्यारिन अनुसन्धान आदि चिनियाँ प्रविधि उन्नयनका पछिल्ला उदाहरण हुन् । चीनले सोभियत कालको पुरानो एयरक्राफ्ट मर्मत गर्दै एउटा उन्नत घरेलु एयरक्राफ्ट क्यारियर बनाइसकेको छ भने दुईवटा निर्माणाधीन छन् । चीनले अमेरिका र रूस दुबैबाट सिकेर जे २० जस्तो अत्याधुनिक स्टिल्थ फाइटर जेट बनाएको छ भने एन्टिस्टिल्थ राडर पनि चीनसँग मात्र भएको दाबी गरिएको छ (२।११।२०१९ एसिया टाइम) । चिनियाँ क्रान्तिको ७० औं वर्षगाँठ मनाउने सन्दर्भमा डीएफ ४१, डीएफ १७, डब्लु जेट ८ ड्रोन, जे २० फाइटर आदि अत्याधुनिक अस्त्रहरूको प्रदर्शनले सैन्य प्रविधिमा चीनले अमेरिका र रूससँगै गति पक्रेको देखिन्छ । डीएफ ४१ व्यालेस्टिक मिसाइलले १० वटा टार्गेट एकैपटक हान्न सक्छ र यो आवाजको गतिभन्दा २५ गुणा छिटो उड्ने मानिन्छ ।
अमेरिकाले २० औं शताब्दीको मध्यतिर असफल भएर त्यागेको हाइस्पिड हेलिकप्टर निर्माण परियोजनामा चीनले अमेरिकी अपाचे र रूसी एमआई ट्वान्टी सिक्स लगायतका हेलिकप्टरका सबल पक्षहरू अध्ययन गरी यो सफलता हात पारेको रूसी समाचारपत्र स्पुतनिकको विश्लेषण छ । यसले अहिलेको चीन प्रविधि ‘कपिक्याट’ होइन, बरु अन्वेषणकारी शक्ति भइसकेको पुष्टि हुन्छ ।
चीन सेमिकन्डक्टर र एरो स्पेसमा अमेरिकाभन्दा पछि मानिन्छ । तर हुवावे परीक्षण केस बनेको छ । अमेरिकी प्रतिबन्धका बावजुद हुवावेले आफ्नै सीपीयु र एप्समात्र बनाएन, यो अवधिमा ६० भन्दा बढी फाइभ–जी पूर्वाधार सम्झौता र चार लाख स्टेसन निर्माण गरी आफ्नो आयलाई २४.४ प्रतिशतले वृद्धि गर्न सफल भयो । अमेरिकाको अन्तरिक्ष जहाज रेकर्डेड यात्रा गरी फर्किरहँदा चीनले अन्तरिक्षमा सटल बोक्ने र छुट्याउन मिल्ने जहाज परीक्षण गरेको छ । अन्तरिक्ष वायुयान निर्माणमा अमेरिका रूस र चीनभन्दा अझै निकै अघि छन् ।
एक दशक अगाडिसम्म अमेरिकी सैन्य शक्तिसँग चीन र रूसको खासै तुलना हुँदैनथ्यो । तर अहिले अमेरिकी सिनेट र थिंक ट्याङ्कमाझ रूस र चीनले हाइपरसोनिक हतियारमा अमेरिकालाई समेत उछिनेको हुनसक्ने बारे ठूलो चिन्ता छ । कामना गरौं, ‘होमो डिउस’ का लेखक युभल नोह हरारीले भनेझैं शक्तिराष्ट्रहरूसँग रहेका प्रविधियुक्त संहारकारी हतियारहरूले युद्ध होइन, शक्ति सन्तुलन कामय गरी विश्व शान्ति कायम गर्न मद्दत गरुन् !
सूचना प्रविधिलाई हेर्दा अमेरिकाले गुगल र याहु बनायो, चीनले आफ्नै सर्च इन्जिन वाइडु बनायो । अमेरिकाले फेसबुक र ट्वीटर बनायो, चीनले वी च्याट र सिना वाइवो बनायो । अमेरिकाले अनलाइन बिजिनेस अम्याजन विकास गर्‍यो । चीनमा अलिबाबा बन्यो । अमेरिकामा फेसबुकबाट जुकरवर्ग जन्मिए र चीनमा अलिबाबाबाट ज्याकमा जन्मिए ।
सूचना पद्धतिलाई रोबोटिक, आर्टिफिसियल इन्टेलजेन्स र इन्टरनेट अफ थिङ्सको तहमा विकास गरी चीन स्मार्ट सिटी, फाइभ जी, सोसियल क्रेडिट सिस्टम, फेस प्लसजस्ता पद्धतिहरूमार्फत समाजलाई अटोमेसन मोडमा लाँदैछ । वर्ल्ड इकोनोमिक फोरमका संस्थापक क्लाउज स्क्वाजले यसलाई चौथो औद्योगिक क्रान्ति भनेर किताबै लेखेका छन् । फोरजीभन्दा सय गुणा शक्तिशाली फाइभजी प्रयोगबाट मोबाइलबाटै बिल तिर्ने, कम्प्युटरले स्वतः चिनेर प्रवेश पाउने, होटलमा रोबोट वेटर, अटोमेटेड उद्योग, समयमा कर नतिरेमा बैंकबाट ऋण नपाउने जस्ता कैयौं विशेषता भएको एकीकृत पद्धति विकासमा चिनियाँ आईटी कम्पनीहरू धमाधम लागिपरेका छन् । पश्चिमा सञ्चार माध्यममा यस्तो पद्धतिले व्यक्तिको निजत्व नरहने र सरकारले निगरानी राख्न सक्ने चर्चा हुने गरेको छ । सार्वजनिक स्थलहरूमा सुरक्षा क्यामेरा राख्ने परिपाटी पश्चिमा देशहरूमा पहिला विकास भएको हो र चीनले यसलाई द्रुत, पद्धतिगत र अटोमेटेट बनाएको छ । मानवरहित ट्याक्सी र ड्रोन चीनले प्रयोगमै ल्याइसकेको छ भने मानवरहित रेल र जहाज निर्माणमा लागिपरेको छ । वृद्ध जनसंख्या बढिरहेको चीनले रोबोटबाट मानव संसाधनको अभाव समाधान खोज्दैछ ।
आजका चिनियाँ कम्पनीहरू नक्कलकर्ता र सिकारु होइनन् । राष्ट्रपति सीले घोषणा गरेको ‘मेड इन चाइना २०२५’ अवधि पूरा हुन अझै ६ वर्ष बाँकी छ । तर चीनमा ‘टेक्नो बुम’ भइसक्यो । एक या आधा दशकभित्रै हाम्रो छिमेकमा यी काम धमाधम भइरहेका छन् ।
आधुनिक चीनमा माओको नेतृत्वमा भएको चिनियाँ क्रान्ति र तेङको आर्थिक क्रान्तिपश्चात् चिनियाँ राष्ट्रपति सीले समुन्नत, सुसंस्कृत, सुन्दर र बलियो समाजवादी देश निर्माणका लागि तेस्रो क्रान्तिको उडान भरेका छन् । यो प्रविधि क्रान्ति सी विचारधाराको उडान भर्ने इन्जिन हो । तेस्रो क्रान्तिको लागि उडान भरेको चीन चौथो औद्योगिक क्रान्तिको पनि नेतृत्व गर्दैछ ।
दुई शताब्दी अगाडिसम्म अफिममा लठ्ठ परेको चीनका बारेमा नेपोलियन बोनापार्टले ठिकै अनुमान गरेका थिए, ‘ड्रागन मस्त सुतिरहेको छ । उसलाई सुत्न देऊ, किनकि ऊ जाग्यो भने संसार नेतृत्व गर्नेछ ।’ चिनियाँ सुनौलो ड्रागन अहिले जागिसकेको छ र पूर्वबाट संसारको नेतृत्व गर्न तम्सिएको छ ।

योगेन्द्र शाही

विविधा

फरिद जकारियाको सूचना–राजनीति

- रमेश केसी

सी एनएनका फरिद जकारिया सूचनाको राजनीति गर्छन् । प्राज्ञिक क्षेत्रबाट सञ्चार माध्यममा आएका जकारिया भारतीय मूलका पत्रकार, लेखक र चिन्तक हुन् । भारतको व्यावसायिक सहर मुम्बईमा जन्मेर हुर्किएका उनी इस्लाम धर्म र राजनीतिका प्राध्यापक राफिक जकारियाका सुपुत्र हुन् । भारतबाट अमेरिकी सपना हासिल गर्न अमेरिका पुगेका करिब ५० वर्षका उनी वर्तमान उदार विश्वका ‘पोष्टर ब्वाई’ हुन् । हरेक आइतबार सीएनएनमा ‘फरिद जकारिया जीपीएस’ नामको एक घन्टाको कार्यक्रम लिएर आउने उनको शृङखलाले भर्खरै ११ वर्ष पार गरेको छ । यस कार्यक्रमको दर्शक बन्नु अघि मैले उनको ‘दि फ्युचर अफ फ्रिडम’ पढिसकेको थिएँ । विश्वमा प्रजातन्त्रको भविष्यलाई लिएर चिन्ता व्यक्त गरिएको यस पुस्तकमा प्रजातन्त्रको क्षय र रूस लगायतका देशमा एकाधिकारवादको वर्चस्वबारे लेखिएको छ । अमेरिकाभित्र दुईदलीय राजनीति र विसंगतिलाई केलाइएको छ । स्वतन्त्रताको भविष्यमाथि आज जुन खतरा देखिएको छ, त्यो उनले १५ वर्षअघि नै आँकलन गरिसकेका थिए ।
आफ्नो टेलिभिजन कार्यक्रमको ११ वर्षको उपलक्ष्यमा जकारियाले विशेष प्रस्तुति दिए । जहाँ सेनाका पूर्वप्रमुख र पूर्व विदेशमन्त्री कोलिन पावेललाई अतिथि बनाइएको थियो । एक घन्टाको उक्त कार्यक्रम विशेष गरेर अन्तर्राष्ट्रिय राजनीति र दर्शनमा केन्द्रित भए पनि त्यसमा विभिन्न क्षेत्रका विचारक, आविष्कारक र वैज्ञानिकसमेत उपस्थित हुन्छन् । तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा विशेष गरेर अमेरिकी बुद्धिको भूगोलमा उनले भ्रमण गराउँछन् । साम्यवादको पतनपछि सर्वेसर्वा बनेको अमेरिकाको क्षय, द्विविधा र हतासालाई बुझ्न यसले मद्दत गर्छ । बौद्धिक कार्यक्रम भए पनि सूचना, पुस्तक परिचय, अन्तर्वार्ता र टिप्पणीहरूले भरिएको यस कार्यक्रम रोचक छ र शिक्षाप्रद पनि छ । व्यावसायिक टेलिभिजनमा अन्तर्राष्ट्रिय राजनीतिमाथि ११ वर्षसम्म साताको एक घन्टा कार्यक्रम सञ्चालन गर्न ठूलो बौद्धिक कसरत चाहिन्छ ।
आज अस्ताउँदो सूर्य बन्दै गएको अमेरिकाको सैन्य, आर्थिक र राजनीतिक चिन्ताहरू यस कार्यक्रममा व्यक्त हुन्छन् । जहाँ पूर्व विदेशमन्त्रीहरू हेनरी किसिन्जर, मेडलिन अलब्राइट, हिलारी क्लिन्टन, कोन्डालिजा राइसजस्ता हस्तीहरू आइरहन्छन् भने वाल्टर रसेल मेड र फ्रान्सिस फुकुयामा जस्ता चिन्तक पनि उपस्थित हुन्छन् । सीआईएका प्रमुखहरू, सैनिक जनरलहरू, प्राध्यापकहरू, न्युयोर्कका पत्रकारहरू र वैज्ञानिकहरूमार्फत बदलिँदो बुद्धिका आयामबारे छलफल गर्छन् । अमेरिकामा एउटा घारणा छ– ‘सिटी अन द हिल’ अर्थात अमेरिकाले जे गर्छ, कल्याण गर्छ । तर विश्व व्यवस्था लिएको करिब सय वर्ष पुग्नलाग्दा अमेरिका अहिले थकित र चकित छ । थकित यसकारणले कि अफगानिस्तान, इराक र लिबियाको संकटले उसको अन्तर्राष्ट्रिय लागतमा प्रश्न उठेको छ । चकित यसकारणले कि एसियाको सबैभन्दा ठूलो राष्ट्र चीनको अद्भुत उदयले शीतयुद्धपछि उसले शत्रु भेटेको छ । यी यस्ता प्रश्नहरू हुन्, जहाँ जकारिया घोत्लिन्छन्, सूचना विश्वव्यापी बनाउँछन् र साम्राज्यको रक्षा गर्छन् । एक्काइसौं शताब्दीको अमेरिकामा केन्द्रित उनको यो कार्यक्रम उदार विश्वको व्यवस्था रक्षा गर्न सञ्चालन गरिएको हो । उनी अमेरिका अद्भुत छ, आर्थिक र वैज्ञानिक दृष्टिले भनेर बारम्बार दाबा गर्छन् । लोकप्रियतावाद विरुद्ध उदार प्रजातन्त्रको रक्षा गर्छन् र भन्छन् कि पुँजीवादसँग मानव समस्या समाधान गर्ने क्षमता छ ।
सन् १९४५ पछि विश्व रंगमञ्चमा उदाएको अमेरिका नेतृत्वको वर्तमान विश्व व्यवस्थाको कवच बन्नु मानव जकारियाको धर्म हो । आखिर शीतयुद्धकालीन राजनीतिका यी गहन अध्येता विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयबाट अमेरिकी विदेश नीतिमा विद्यावारिधी न हुन् । यस अघि ‘न्युजविक’का अन्तर्राष्ट्रिय सम्पादक बनेका उनी हाल वासिङटन पोष्टका स्तम्भकार छन् । आधा दर्जनभन्दा बढी किताब लेखेका उनको पछिल्लो पुस्तक ‘पोष्ट अमेरिकन वर्ल्ड’ हो । उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको दाउपेच र एकाधिकारवादलाई भण्डाफोर गर्दै एक घन्टाको वृत्तचित्र बनाएका छन् । उनका कार्यक्रमका सार हुन्— उत्तर कोरिया, इरान, भेनेजुएलाको नीति ठिक छैन । चीन दीर्घकालीन खतरा हो । ट्रम्प राष्ट्रपति हुन योग्य छैनन् । संसारमा छाएको लोकप्रियतावाद उदार प्रजातन्त्रका लागि खतरा छ, अमेरिका सम्हालिनुपर्छ । यो अझै विश्वको हैकम गर्न योग्य छ । आदि–आदि ।
विश्वका प्रमुख जर्नलहरू, विविध विषयका प्रतिवेदनहरू र स्रोत व्यक्तिलाई उद्धरण गर्नु उनको विशेषतै हो । तैपनि प्रश्न भने उठ्छ— के जकारियाको सूचना राजनीति सही छ ? उता अलजजिरामा मारवान विसारा ‘इम्पायर’ अर्थात साम्राज्य कार्यक्रममा चिच्याउँछन् । साम्राज्य ठिक हैन, अमेरिका विश्वका लागि खतरा हो, साम्राज्यले शोषण र पुँजीवादमार्फत विश्वलाई मरणासन्न बनाएको छ जस्ता विचारहरू व्यक्त गर्छन् । वर्तमान विश्वमा पश्चिमी सञ्चार माध्यमको बोलवाला रहेको बेला अलजजिरामा विसारा वैकल्पिक स्वर दिएर देखापर्छन् । पेरिसस्थित अमेरिकी विश्वविद्यालयका पूर्वप्राध्यापक विसारा टेलिभिजनका वामपन्थी स्टार हुन् भने फरिद जकारिया पुँजीवादी विश्वको प्रवक्ता हुन् । विचार र सूचनाको सुनामी चलेको वर्तमानमा यी प्रस्तोताहरू आज आफ्नै सत्यको व्यापार गर्छन् ।
फरिद जकारिया विश्वशक्ति सन्तुलन संक्रमणकालमा गुज्रिरहेको बेला पश्चिमका सेवक हुन् । उनी आफ्नो कर्मभूमि अमेरिकाका सही रक्षक पनि हुन् । तर विश्व जकारियाले भनेजस्तो मात्रै छैन । गैरपश्चिमी समाजका समस्याहरू र विमर्श विरलै प्रस्तुत हुन्छ, उनको कार्यक्रममा । आफ्नो जन्मभूमि भारतलाई पनि उनी अमेरिकी आँखाले हेर्छन् । उनी बुद्धिको व्यापार गर्ने सम्भ्रान्त पत्रकार हुन् । जकारियाले जति साम्राज्यको सेवा गरे पनि र वैकल्पिक विश्वबारे ध्यान नदिए पनि दक्षिण एसियाली पत्रकारका लागि उनी सफल उदाहरण हुन् । अमेरिकामा सफलता पाएका अनेकौं आप्रवासी मध्येका एक चम्किला तारा हुन् ।
विशेषज्ञ भएर होला, अमेरिकी विदेश नीतिमा उनको आफ्नै दाबी छ । कस्तो विदेश नीति अपनाउने ? यथार्थवादी, आदर्शवादी वा हस्तक्षेपकारी । उता वामपन्थी चिन्तक तथा प्राध्यापक नोम चम्स्की भन्छन् कि ‘म सीएनएन हेर्दै हेर्दिन । यो विदेश मन्त्रालयको प्रवक्ता
हो ।’ अमेरिकी संस्थापन पक्ष र पुँजीवादी दृष्टिकोणलाई सूचनाको राजनीतिमार्फत प्रचार गर्ने कार्यक्रमका सञ्चालक हुन् जकारिया, जसलाई भारतीय कूटनीतिज्ञ शशी थरुरले अमेरिकाका विदेशमन्त्री बन्न योग्य छन् भनी टिप्पणी गरेका थिए ।

Page 8
विदेश

इरानमा भूकम्प, ६ को मृत्यु

- एजेन्सी

तेहरान – इरानको उत्तर–पश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा गएको भूकम्पमा कम्तीमा ६ को मृत्यु भएको छ ।
स्थानीय अधिकारीका अनुसार कम्तीमा १ सय २० घाइते छन् । इरानको भूगर्भ विभागले ५.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । स्थानीय समयअनुसार भूकम्प शुक्रबार बिहान २ बजेर १७ मिनेटमा गएको हो ।
प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले भूकम्पबाट कम्तीमा ३० घर क्षतिग्रस्त भएका जनाए । इरानमा सन् २०१२ मा गएको भूकम्पका कारण ३ सयको मृत्यु भएको थियो ।

विदेश

ट्रम्पलाई २० लाख डलर तिर्न आदेश

- एजेन्सी

न्युयोर्क – अमेरिकाको एक अदालतले एक संस्थाको रकम दुरुपयोग गरेको ठहर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर तिर्न आदेश दिएको छ ।
न्युयोर्कस्थित अदालतका अनुसार राष्ट्रपति ट्रम्पले परोपकारका लागि स्थापित संस्था ‘द डोनाल्ड जे ट्रम्प फाउन्डेसन×’ को कोष दुरुपयोग गरेका हुन् । राष्ट्रपति ट्रम्पले आफ्नो फाइदाका लागि उक्त संस्थालाई प्रयोग गरेका तथा संस्थाको रकम खर्चेको न्युयोर्कस्थित अदालतकी न्यायाधीश सालियान स्कार्पलाले ठहर गरेकी हुन् ।
न्यायाधीश स्कार्पलाले ट्रम्प र उनका छोराछोरीले सञ्चालन गरेजस्ता परोपकारी संस्थाले राजनीतिमा संलग्न हुन नपाउने आदेशसमेत दिएकी छन् । अदालतको आदेशअनुसार २० लाख डलर राष्ट्रपति ट्रम्पले आफ्नो व्यक्तिगत सम्पत्तिबाट तिनुपर्नेछ ।
‘द डोनाल्ड जे ट्रम्प फाउन्डेसन×’ सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा ट्रम्प आफैंले स्थापना गरेका थिए ।

विदेश

गान्धी परिवारको विशेष सुरक्षा हटाइयो

- सुरेशराज न्यौपाने

(नयाँदिल्ली) - नरेन्द्र मोदी नेतृत्वको सरकारले विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी र प्रियंका गान्धी बाड्राले पाउँदै आएको विशेष सुरक्षा समूह (एसपीजी) को प्रबन्ध हटाउने निर्णय गरेको छ ।
गृह मन्त्रालयले उनीहरूलाई दिँदै आएको एसपीजी हटाएर ‘जेड प्लस’ को सुरक्षा दिने निर्णय शुक्रबार गरेको हो । यसअघि एसीपीजी सुरक्षाअन्तर्गत गान्धी परिवारका तीनै जना सदस्यका लागि प्रत्येकका लागि ३ हजार जनाको विशेष तालिम प्राप्त सुरक्षा दस्ता खटिँदै आएको थियो । अब यस्तो सुविधा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि मात्र हुनेछ । जेड प्लस सुरक्षामा केन्द्रीय अर्धसैनिक बलका सय जना खटिने गर्छन् । सन् १९८५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको आफ्नै सुरक्षागार्डबाट हत्या गरिएपछि प्रधानमन्त्री र परिवारको सदस्यको सुरक्षाका लागि एसपीजीको गठन गरिएको थियो ।
एसपीजी सुरक्षा हटाएकोमा विपक्षी दल कंग्रेसले भने तीव्र विरोध गरेको छ । विरोधस्वरूप कंग्रेसको युवा इकाईले गृहमन्त्री अमित शाहको दिल्लीस्थित निवासबाहिर प्रदर्शनसमेत गरेका छन् । कंग्रेसले एसपीजी सुरक्षा हटाउने निर्णयको विरोध गर्दै सरकारले सोनिया, राहुल र प्रियंकाको जीवनसँग खेलवाड गरेको आरोपसमेत लगाएको छ ।
भारतीय सञ्चारमाध्यमले गान्धी परिवारले सुरक्षा प्रबन्ध कायम गराउन सहयोग नगरेका कारण सरकारले त्यस्तो निर्णय लिएको उल्लेख गरेका छन् । गान्धी परिवारले देशभित्र र बाहिर भ्रमण गर्दा आवश्यक समन्वय नगरेकाले यस किसिमको निर्णय लिइएको सरकारी पक्षको दाबी छ । भारतीय खुफिया संस्थाहरूको सुरक्षासम्बन्धी सुझावको आधारमा त्यस्तो निर्णय लिइएको दाबी सरकारको छ ।
राहुल गान्धीमाथि भने सुरक्षा हेलचेक्र्याइँ गरेको आरोपसमेत लगाइएको छ । राहुलले सन् २०१५ देखि मे २०१९ सम्ममा १८९२ पटक बुलेटप्रुफ सवारीसाधन प्रयोग नगरेका बताइएको छ । त्यसैगरी उनले सन् १९९१ यता १ सय ५६ विदेश भ्रमणमध्ये १ सय ४३ मा एसपीजी सुरक्षा लिएको र आफ्नो भ्रमणबारे अन्तिम समयमा बताउने गरेको आरोपसमेत लगाइएको छ ।
कंग्रेसले राजनीतिक प्रतिशोधका आधारमा यस्तो निर्णय गरिएको आरोप लगाएको छ । ‘भाजपा अन्ततः व्यक्तिगत प्रतिशोधको तहमा ओर्लेर दुई जना पूर्वप्रधानमन्त्रीको परिवारका सदस्यको जीवनलाई जोखिममा पारेको छ,’ कंग्रेस वरिष्ठ नेता अहमत पटेलले ट्वीटरमा लेखेका छन् ।
‘प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह व्यक्तिगत घृणा र बद्लाको भावना र राजनीतिक प्रतिशोधमा अन्धो भएर जबरजस्ती गान्धी परिवारको एसपीजी सुरक्षा व्यवस्था फिर्ता गर्ने निर्णय लिएका हुन्,’ कंग्रेस प्रवक्ता रनदीपसिंह सुर्जेवालाले पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन् । सुर्जेवालाले तत्कालीन प्रधानमन्त्री अटलविहारी बाजपेयीले नै एसपीजी कानुन संशोधन गरेर गान्धी परिवारलाई त्यस्तो सुरक्षा व्यवस्था उपलब्ध गराएको तर, मोदी सरकारले त्यो हटाएर आफ्नो हैसियत देखाएको समेत आरोप लगाएका छन् ।

Page 9
स्वास्थ्य

अझै जोखिम

स्क्रब टाइफस
- अतुल मिश्र

(काठमाडौं) - जाडो सुरु हुन थाले पनि मुलुकको विभिन्न भागमा स्क्रब टाइफसको संक्रमण अझै रोकिएको छैन । सहरको दाँजोमा ग्रामीण क्षेत्रमा यो संक्रमणको चुनौतीमा बढी कायम छ ।
शंकास्पद उच्च ज्वरोको बिरामीलाई चिकित्सकले स्क्रब टाइफसको परीक्षणसमेत गराउने गरेका छन् । स्क्रब टाइफसको लक्षण डेंगु, ब्रुसिलोसिस, औलोलगायत थुप्रै संक्रामक रोगसँग मिल्दोजुल्दो हुन्छ । यो संक्रमण वर्षभरि नै हुने गरे पनि वर्षा यामपछि र धान काट्ने समय मुसाको चहलपहल बढेपछि बढी देखिने गर्छ ।
सरकारी तथ्यांकअनुसार स्क्रब टाइफसको हाल प्रयोगशाला प्रमाणित केसको संख्या गत आइतबारसम्ममा १२ सय ७१ भइसकेको छ । तर वास्तविक संख्या बढी पनि हुन सक्ने दाबी केही चिकित्सक गर्छन ।
सन २०१६ मा यो संक्रमण मुलुका ४८ जिल्लामा देखिएको थियो भने यो वर्ष बढेर ६३ जिल्लामा पुगेको छ, यी मध्ये सबै भन्दा बढी रूपन्देही, धादिङ, पाल्पा, काठमाडौं, चितवन, गुल्मी, अर्घाखाँची, ललितपुर, मकवानपुरलगायतका जिल्लामा स्क्रब टाइफस देखिएको छ ।
राजधानीको काठमाडौंमा हालसम्म ८३, ललितपुरमा ३१ र भक्तपुरमा ७ जनालार्ई समेत स्क्रब टाइफस देखिएको छ ।
‘यस पटक स्क्रब टाइफस ग्रामीण क्षेत्रमा बढी देखिएको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी), किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. प्रकाश शाहले भने, ‘केही साताअघि कान्ति बाल अस्पतालमा धनुषाबाट आएका एक बच्चाको मृत्यु स्क्रब टाइफसबाटै भएको छ ।’ यस्तै चितवनमा मृत्यु भएको एक व्यक्तिमा डेंगुसँगै स्क्रब टाइफसको समेत संक्रमण देखिएको थियो । यो वर्ष हालसम्म स्क्रब टाइफसले ३ जनाको मृत्यु भइसकेको डा. शाह बताउँछन् ।
गत असोज महिनामा मात्र मुलुकभरि करिब ४ सय ५० वटा स्क्रब टाइफसको रिपोर्टेड केस देखिएको डा.शाहले बताए । कात्तिक महिनाको पहिलो र दोस्रो सातामा समेत राजधानीलगायतका ११ जिल्लाबाट करिब १ सय स्क्रब टाइफसको केस देखिएको उनको दाबी छ ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार यो वर्ष मुलुकमा डेंगु सँगसँगै स्क्रब टाइफससमेत फैलिएको हो । वर्षभरि नै देखिने गरिए पनि मौसम चिसो हुँदै जाँदा रोगको फैलावट कम हुँदै जाने विज्ञहरू बताउँछन् ।
स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने माइट (कीरा) को टोकाइबाट मानिसमा सर्छ । ‘ओरेन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरिया (जीवाणु) यी कीरा (माइट) मा पाइन्छ । पहिले ओरेन्सियालाई रिकेटसियासमेत भन्ने गरिन्थ्यो । यही ‘ओरेन्सिया सुसुगामुसी’ नामक जीवाणु शरीरमा बोकेको कीराले टोकेपछि यो रोग लाग्ने गर्छ ।
करिब ०.२ मिलिमिटर देखि ०.४ मिलिमिटर लामो कीरा नै यो संक्रमणको बाहक र संग्रहकर्ता हो । यसलाई आवर्धक सिसा वा सूक्ष्मदर्शक यन्त्रद्वारा राम्ररी देख्न सकिन्छ । यो कीराको लार्भा अवस्थाले नै मानिसमा रोग सार्न सक्छ ।
‘यस्ता कीराको मलमूत्र अर्थात् संक्रमित तरल पदार्थ छालाको खोस्रिएको भागबाट शरीरमा प्रवेश गर्दा पनि यो रोग हुन सक्छ,’ डा. शाह भन्छन् । तर यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन ।
संक्रमित कीराले टोकेको ६ दिनदेखि ३ साताभित्र स्क्रब टाइफसको लक्षण मानिसमा विकसित हुन्छ । यो संक्रमणमा उच्च ज्वरोसँगै शरीरको जुन ठाउँमा टोकेको हो, त्यहाँको छाला कालो हुन्छ ।
अलि राम्ररी हेर्ने हो भने स्क्रब टाइफसले गर्दा एउटा फरक प्रकारको घाउ बन्छ । यो घाउ सुरुमा रातो रंगको हुनुको साथै करिब एक सेन्टिमिटर जति गोलो हुन्छ । पछि गएर यो घाउ च्यातिएर कालो रंगको पाप्राले छोपिन्छ ।
यो शरीरमा देखिने ‘प्याच’ जस्तै कालो छापलार्ई मानिसले ध्यान नदिने गरेको औंल्याउँदै डा.पाण्डे भन्छन्, ‘डेंगुमा जस्तै ज्वरो आउने, शरीर दुख्ने भए पनि यो ‘प्याच’ ले नै स्क्रब टाइफस हो भन्ने किटान गर्न सकिन्छ ।’
यस्तो संक्रमण भएको पहिलो साता बिरामी खोकी रहन्छ भने अर्को साता निमोनियासमेत विकसित हुन सक्छ । कीराले टोकेको पहिलो साता बिरामीमा ज्वरो बढ्ने, तीव्र टाउको दुख्नेजस्ता समस्या देखिन्छन् । यति मात्र नभई संक्रमण भएको ५ देखि ८ दिनमा शरीरको छेउछाउमा धब्बा/टाटो बन्छ ।
यो धब्बा विस्तारै खुट्टा, बाहुलामा समेत देखिन थाल्ने टेकु अस्पतालकै डा. शेरबहादुर पुन औंल्याउँछन् । उनका अनुसार यो रोगमा देखिने जटिलताअन्तर्गत निमोनिया, मेनिगोएन्सेफलाइिटिस र मायोकार्डिटिस हुन् । निमोनिया र मायोकार्डिटिसको गम्भीर मामिलामा मृत्यु दर ३० प्रतिशतसम्म हुन सक्छ ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) अनुसार एसियामा यो संक्रमणले बर्सेनि करिब १० लाख व्यक्तिलाई प्रभावित गर्ने गरेको छ ।


जटिलता
यो जीवाणु हाम्रो शरीरमा फैलिएपछि फोक्सो, कलेजो, मस्तिष्कमा थुप्रै प्रकारको संक्रमण हुन थाल्छ । यसले गर्दा संक्रमित व्यक्ति ‘मल्टिअर्गन डिजअर्डर× (धेरै अंगहरूको समस्या) को अवस्थामा पुग्छ ।
समयमै उपचार नभए रोग गम्भीर भएर निमोनियाको रूपसमेत लिन सक्छ । विभिन्न तथ्यअनुसार निमोनियाको जटिलता ३० देखि ६५ प्रतिशत देखिएको छ । केही बिरामीको मृगौला र कलेजो राम्ररी काम गर्दैन । यसले गर्दा बिरामी व्यक्ति बेहोसी अवस्थामा जान्छन् ।
बेलायतस्थित नेसनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार स्क्रब टाइफसको उपयुक्त उपचार नगर्दा जटिलता देखिन सक्ने जोखिमसमेत रहन्छ । यसअन्तर्गत दीर्घकालीन रूपमै सुन्ने क्षमता गुम्नु, निम्न रक्तचापका साथै अंगमा क्षति र मृगौला फेल हुनु, निमोनियाजस्ता अर्को ब्याक्टेरियाबाट हुने संक्रमण देखिनु, छारे रोगको लक्षण, अन्योल, सुस्ती, मासु कुहिनु आदि समस्या देखिन सक्ने एनएचएसले जनाएको छ ।
कति दिनमा रोग लाग्छ ?
संक्रमित कीराले टोकेको सामान्यतः ५ देखि १४ दिनमा रोगको लक्षण देखिने गर्छ । तर यो रोग कीराले टोकेको २० दिनभित्रसमेत देखिन सक्छ ।
कसरी पत्ता लगाउने ?
यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको चिनो देखेर पनि गरिन्छ । यसमा रगत परीक्षणसमेत गरिन्छ । यसअन्तर्गत लिभर फंग्सन टेस्ट र सीबीसी काउन्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रूत परीक्षणसमेत गरिन्छ ।


उपचार
स्क्रब टाइफस ब्याक्टेरियाद्वारा उत्पन्न संक्रमण भएकोले यसलाई एन्टिबायोटिक औषधिद्वारा उपचार गरिन्छ । साथसाथै शारीरिक जटिलताका लागि सहयोगी उपचारसमेत गरिन्छ ।
समयमै उपचार गरे यो रोगले थप जटिलता उत्पन्न हुँदैन । स्वास्थ्यकर्मीले स्क्रब टाइफसको आशंका गरेका बिरामीलार्ई प्रयोगशाला प्रतिवेदन आउनभन्दा अघिदेखि नै एन्टिबायोटिक दिन सकिन्छ । चिकित्सकहरूका अनुसार बिरामीलाई ‘डक्सिसाइक्लिन’, ‘टेट्रासाइक्लिन’, एजिथ्रोमाइसिन, एन्टिबायोटिकको माध्यमले उपयुक्त उपचार गरिए धेरै जसो बिरामीमा ४८ घन्टा भित्रै सुधार देखिन थाल्नुको साथै पूर्ण स्वस्थ हुने गरेको देखिएको छ ।
कसरी फैलिन्छ ?
मुसामा लाग्ने किर्नाजस्तो देखिने माइट (कीरा) ले टोक्दा त्यसको र्‍यालमा भएको खतरनाक ब्याक्टेरिया ‘ओरेन्सिया सुसुगामुसी’ मनुष्यको रगतमा फैलिन्छ । यसको कारणले कलेजो, मस्तिष्क, फोक्सोमा थुप्रै प्रकारको संक्रमण हुन लाग्छ । बिरामी धेरै अंगले काम गर्न छोडने अवस्था (मल्टिपल अर्गेन डिजअर्डर) को अवस्थामा पुग्छ ।

स्वास्थ्य

कामको तनावले झर्छ कपाल

- कान्तिपुर संवाददाता

कपाल झर्ने समस्यालाई धेरैजसो व्यक्तिले गम्भीर रूपमा लिँदैनन् । हालै गरिएको एक अध्ययनअनुसार तपाईं जति समयसम्म काम गर्नुहुन्छ, यसको असर तपार्इंको कपालमा पर्छ ।
एनल्स अफ अक्युपेसनल एन्ड इन्भारामेन्टल मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्षअनुसार सातामा ५२ घन्टाभन्दा बढी काम गर्ने २० देखि ३० वर्ष उमेरको पुरुषमा यो समस्या बढी हुने गरेको छ । यति तपाईं सातामा ५ दिनका दरले दैनिक १० घन्टाभन्दा बढी काम गर्नुहुन्छ भने तपाईंको कपाल अन्यको तुलनामा बढी झर्छ । नेसनल हेल्थ सर्भेअनुसार हरेक व्यक्तिको दैनिक औसत ५० देखि १०० कपाल झर्ने गरेको छ ।

स्वास्थ्य

गहिरो निद्राले अल्जाइमरको जोखिम कम

- कान्तिपुर संवाददाता

गहिरो निद्राले अल्जाइमरलगायत अन्य न्युरोजेनरेटिभ रोगको जोखिम कम गर्ने देखिएको छ । जर्नल साइन्समा प्रकाशित अध्ययनअनुसार गहिरो निद्रामा हुँदा मस्तिष्कमा केही विद्युतीय संकेत बाहिर निस्किन्छ जसले मस्तिष्कलाई सफा गर्छ । 

Page 10
समाचार

आलमको सम्पत्ति छानबिन हुने

- शिव पुरी

(रौतहट) - कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको सम्पत्ति छानबिन हुने भएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको आरोपमा प्रहरी हिरासतमा रहेका आलमलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोकले जिल्ला प्रहरी रौतहटलाई बिहीबार पत्र पठाई तत्काल छुट्ने अवस्था भए विभागमा उपस्थित गराइदिन आग्रह गरेको छ । जिल्ला अदालतले धरौटी वा तारेखमा छाडे पनि सम्पत्ति छानबिनको दायरामा ल्याउन आलमलाई प्रहरीले पुनः पक्राउ गरी शुद्धीकरण विभाग पठाउनेछ ।
सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को २१ (२) बमोजिम उनीमाथि सम्पत्ति छानबिन हुनेछ । आलमविरुद्ध बिहीबारदेखि थुनछेक बहस चलिरहेको छ । अदालतबाट छुट्ने अवस्था आए आलमलाई सम्पत्ति शुद्धीकरणमा बुझाइने रौतहटका जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए ।


पीडिततर्फको बहस सकियो
आलमविरुद्ध चलेको थुनछेक बहस शुक्रबार पनि जारी रह्यो । अहिलेसम्म वादीतर्फका अधिवक्ताको बहस सकिएको छ । आइतबारबाट प्रतिवादी आलमतर्फका वकिलले बहस गर्नेछन् । पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता डा.युवराज संग्रौलाले बहस गरेका थिए । पर्याप्त प्रमाण भेटिएकाले बम विस्फोटको घटना भएकै होइन भन्न नसकिने उनको दाबी छ । ‘विस्फोटमा घाइते भएकाहरूको स्वास्थ्य परीक्षण प्रतिवेदनले निष्पक्ष प्रमाण दिइसकेको छ,’ उनले बहसका क्रममा भनेका छन्, ‘आलमलाई थुनामा राखेर अनुसन्धान अघि बढाउनुपर्छ ।’ आलमलाई रिहा गरिँदा प्रमाण नष्ट हुन सक्ने आशंका रहेको उनको भनाइ छ । घटनामा मृत्यु भएका भनिएका सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरको लास नै भेटिनुपर्छ भन्ने नरहेको उनी बताउँछन् । अन्य तथ्य प्रमाण विश्लेषण गरी अनुसन्धानको गहिराइमा पुग्न सकिने उनको भनाइ छ ।
घटनामा मृत्यु भएकी ओसीकी आमा रोक्साना खातुनको गोली हानि हत्या भइसकेकाले त्रिलोकका बुवा श्रीनारायण मात्र जाहेरवाला भएकाले उनको सुरक्षाका लागि अदालतले प्रहरीलाई आदेश दिनुपर्ने अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए । ‘घटनापछि ढिला गरी अनुसन्धान हुनु, राज्यशक्तिको आडमा प्रमाण नष्ट गरिनु जस्ता कार्यले घटना भएकै हो भन्ने प्रस्ट्याएका छन्,’ उनले भने । पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले आलमलाई अनुसन्धानका लागि थुनामै राख्नुपर्ने बहस गरेका थिए । जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवाललगायत ११ जना अधिवक्ताले पीडितका तर्फबाट बहस गरेका थिए ।

Page 11
अर्थ वाणिज्य

महासंघको विशेष साधारणसभा स्थगित

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनका लागि आगामी कात्तिक २९ गते बोलाइएको विशेष साधारणसभा स्थगित हुने भएको छ ।
शुक्रबार साँझ बसेको विधान संशोधन कार्यदलको बैठकले विशेष साधारणसभा स्थगित गर्ने, अध्यक्षसम्म्बन्धी विधानको हालको व्यवस्था संशोधन नगर्ने र संशोधन गर्नुपर्ने अन्य विषय नियमित साधारणसभाबाट गर्ने निर्णय गरेको हो । ‘यो निर्णय महासंघको कार्य समितिलाई समितिमा सिफारिस गर्ने छौं,’ कार्यदलका संयोजक तथा महासंघका विशेष सदस्य चण्डीराज ढकालले भने, ‘उसले हाम्रो निर्णयअनुसार विशेष सधारणसभा बोलाउने विषयलाई स्थगित गर्नेछ ।’
महासंघको विधानअनुसार हाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । योसहित विधानका विभिन्न विषयमा संशोधन गर्न कात्तिक २९ गते विशेष साधारणसभा बोलाइएको थियो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने हालको व्यवस्था संशोधन गरी प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चुन्ने व्यवस्था ल्याउने तयारी थियो । विधान संशोधन कार्यदलले यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेपछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने बाटो खुला भएको छ ।
‘यस पटक मात्रै हैन, आउँदो नियमित साधारणसभामा पनि अध्यक्षसम्बन्धी हालको व्यवस्था परिवर्तन गर्ने सिफारिस गरेका छौं,’ ढकालले भने, ‘विधानका अन्य विषयको संशोधन गर्नुपरे नियमित साधारणसभामा प्रस्तुत हुने र त्यहीँ निर्णय हुनेछ ।’
गत साउन ३१ गते विशेष सधारणसभा बोलाउने र अध्यक्षसम्बन्धी व्यवस्था परिवर्तनको गृहकार्य सुरु भएलगत्तै महासंघमा ध्रुवीकरण भएको थियो । प्रत्यक्ष निर्वाचन प्रणाली वा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने भन्ने विषयमा निजी क्षेत्रका अधिकारीहरू विभाजित भएका थिए । सात पूर्वअध्यक्षहरूले सामूहिक रूपमा विधान संशोधन कार्यदललाई सुझाव बुझाएका थिए । विधान संशोधन गर्न नहुने, गरे पनि यसै कार्यकालबाट प्रत्यक्ष निर्वाचित अध्यक्षसम्बन्धी प्रणाली लागू गर्न नमिल्ने सुझाव पूर्वअध्यक्षहरूको थियो ।
महासंघका पहिले प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणाली मै थियो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था भएको एक कार्यकाल भयो । यो व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष पदमा रहेकी भवानी राणा महासंघकी अध्यक्ष भएकी हुन् । उनको कार्यकाल आगामी चैत्रमा सकिदै छ ।

अर्थ वाणिज्य

५ महिनासम्म कामै भएन

सुरुङमार्ग अध्ययन गर्न ५९ करोड
- विमल खतिवडा

(काठमाडौं) - सरकारले सुरुङ मार्ग निर्माणको प्रारम्भिक अध्ययन गर्न ५९ करोड बजेट विनियोजन गरेको ५ महिना बिते पनि काम भने केही पनि हुन सकेको छैन ।
मुलुकका आधा दर्जनभन्दा बढी जोखिमयुक्त तथा लामो सडक खण्डमा सुरुङ निर्माण अध्ययनका लागि सरकारले यसपछि यति धेरै बजेट विनियोजन गरेको हो । यस वर्षको बजेटमा सिद्धार्थ राजमार्गको सिद्धबाबा, टोखा–छहरे–गुर्जे भन्ज्याङ, खुर्कोट–चियाबारी, बीपीनगर–खुटिया–दिपायल खण्ड, थानकोट–चित्लाङ खण्ड र लामा बगर–उत्तरी सीमा सडकमा सुरुङ निर्माणको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण अगाडि बढाउने उल्लेख छ । यसबाहेक केही थप स्थानको सुरुङमार्ग निर्माणको प्रारम्भिक अध्ययन गर्ने भनी ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
उक्त बजेटले प्रारम्भिक अध्ययन गर्ने भनिए पनि यससम्बन्धी कामहरू भने हुन सकेको छैन । ‘नयाँ प्रविधीमा जाँदा ढिलो हुनु स्वाभाविक हो,’ सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले भने, ‘गरिरहेको काम भए चाँडै सुरु हुन्थ्यो, नयाँ भएकाले ढिला हुन गएको हो ।’ उनका अनुसार अहिले सबैतिरको प्रारम्भिक अध्ययन गर्ने तयारी भइरहेको छ ।
‘यो पैसाले सुरुङ निर्माण गर्ने हैन । त्यसका लागि एक छेउ पनि पुग्दैन,’ उनले भने, ‘प्रारम्भिक अध्ययन सकियो भने पनि उपलब्धि हुनेछ ।’ उनका अनुसार बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङ निर्माणका लागि ‘डिटेल इन्जिनियरिङ’ प्रतिवेदन तयार भइसकेको छ । स्विस सरकारको सहयोगमा रिपोर्ट तयार पारी विभागमा बुझाइसकिएको छ ।
यो खण्डमा सुरुङ निर्माणको थप अध्ययनका लागि सरकारले सबैभन्दा बढी अर्थात् ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गपछि सरकारको प्राथमिकतामा सिद्धबाबा सुरुङमार्ग निर्माण रहेको देखिन्छ । ‘बुटबल–पाल्पा सडक खण्डको सिद्धबाबामा धेरै ठूलो धनजनको क्षति भएको छ,’ प्रवक्ता सापकोटाले भने, ‘त्यसैले अबको सुरुङमार्गको प्राथमिकतामा पनि यही खण्डमा हो ।’
प्राथमिकता भनिए पनि सरकारकाले बजेट विनियोजन गरेको पाँच महिना बिते पनि काम भने अघि बढेको छैन । ‘पहिला स्विसको रिपोर्ट हेर्छौं,’ उनले भने, ‘त्यसपछि के कसरी अगाडि बढ्ने भन्ने थाहा हुनेछ ।’ उनका अनुसार रिपोर्ट हेरिसकेपछि पूरै सुरुङमार्ग कसरी बनाउने भन्ने विषयबारे विज्ञ टोलीले अध्ययन गर्नेछ । नेपालमा सुरुङ निर्मााण्का लागि विज्ञ टोली छैनन् । विदेशबाटै ल्याएर अध्ययन गराउनुपर्ने विभागले जनायो । विज्ञ टोली ल्याउन सरकारले पहल गर्नुपर्ने हुन्छ । यो कार्य तुलनात्मक रूपमा महँगो पर्छ, समय पनि लाग्न सक्छ । ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग बन्दै छ, अन्यत्र निर्माण गरिने सुरुङका यो एउटा अनुभवको आयोजना हुनेछ,’ उनले भने ।
विभागका अनुसार टोखा–छहरे–गुर्जे भन्ज्याङ सुरुङमार्ग, कोटेश्वर–जडीबुटी खण्ड, बीपी लोकमार्गको खुर्कोट चियाबारी, बीपी नगर खुटिया–दिपायल, थानकोट–चित्लाङ, गोदावरी कुण्ड–काभ्रे मानेचौर जोड्ने सुरुङमार्गहरूको अध्ययनका लागि ४०/४० लाख रुपैयाँका दरले बजेट विनियोजन भएको छ । कुलेखानी–भीमफेदी खण्ड, पोखरा–बागलुङ सडक (हेम्जा–नयाँपुल) र दोलखा–लामाबगर सुरुङमार्ग निर्माणको अध्ययनका लागि ३०/३० लाख रुपैयाँका दरले बजेट विनियोजन भएको हो ।
कुनैपनि सुरुङमार्गको बजेट अहिलेसम्म खर्च नभएको विभागले जनाएको छ । नयाँ बानेश्वर अन्डर पास अध्ययनका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ । नाम नराखी सुरुङ मार्ग अध्ययनका लागि आवश्यकताअनुसार खर्च गर्ने गरी ५ करोड रुपैयाँ बजेट विनियोजन भएको उल्लेख छ ।

अर्थ वाणिज्य

सिमेन्टको गुणस्तर निर्धारण र स्टिकर छपाइ रोक्न निर्देशन

- ऋषिराम पौड्याल

(काठमाडौं) - प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सिमेन्टको गुणस्तर निर्धारणको प्रक्रिया र अन्तःशुल्कको स्टिकर छपाइ टेन्डर प्रक्रिया तत्काल अघि नबढाउन निर्देशन दिएको छ । सिमेन्टको गुणस्तर निर्धारणसम्बन्धी निर्णय अघि नबढाउन समितिले शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । अघुलनशील कच्चा पदार्थ र म्याग्नेसियम अक्साइडको मात्रा बढाएर सिमेन्टको गुणस्तर घटाउन खोजेको उजुरीका आधारमा समितिले छानबिन गरिरहेको छ ।
समितिले स्टिकर र सिमेन्टबारे छलफल गर्न विभागीय मन्त्री र कर्मचारीहरू बोलाउने निर्णय पनि गरेको छ । नेपाली व्यवसायीले टेन्डर प्रक्रियामा भाग लिन नपाउने गरी आन्तरिक राजस्व विभागले गत असोजमा गरेको अन्तःशुल्कको स्टिकर छाप्ने टेन्डर रोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । विभागले २ आर्थिक वर्षका लागि करिब २ अर्बभन्दा बढी मूल्यको स्टिकर छाप्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ । समितिका सभापति भरत शाहका अनुसार यी दुवै विषयमा सम्बन्धित मन्त्रालयका पदाधिकारी र मन्त्रीसँग छलफल गरेर थप अनुसन्धान गरिनेछ ।


टेन्डरमा नेपालीलाई बन्देज
आन्तरिक राजस्व विभागले अन्तःशुल्क स्टिकर छाप्ने टेन्डर प्रतिस्पर्धामा नेपाली व्यवसायीले भाग लिन नपाउने सर्त राखेपछि छानबिन सुरु गरिएको हो । समितिका सचिव रोजनाथ पाण्डेका अनुसार लेखाले गत मंसिरमा दिएको पाँचबुँदे निर्देशनको पालना नगरी फेरि सोही प्रक्रियामा टेन्डर आह्वान गरेको थियो । समितिमा सबैजसो सांसदहरूले नेपालीलाई बन्देज लगाउनु गलत भएको बताए । ‘यस्तो निर्णय रोक्नुपर्छ,’ सांसद तेजुलाल चौधरीले भने, ‘समितिकै निर्णय नमानेपछि निर्देशनको पनि अर्थ भएन ।
सांसद हृदयेश त्रिपाठीले यस्तो निर्णय किन गरियो, सरकारको धारणा बुझ्नुपर्ने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपपरिषद्को कार्यालयले नेपाली व्यवसायीले भाग लिन पाउने गरी प्रक्रिया मिलाउन एक वर्षअघि नै विभागलाई निर्देशन दिए पनि कार्यान्वयन नभएको समितिको बुझाइ छ ।
‘यसमा नियत खराब देखिन्छ,’ समितिका सभापति शाहले भने, ‘टेन्डर जोसुकैले पाओस् नेपालीले प्रतिस्पर्धा नै गर्न नपाउने कस्तो सिन्डिकेट हो ।’

विभागले निकालेको टेन्डरमा आवेदक कम्पनीले स्टिकर छाप्नका लागि विभिन्न कडा सर्त राखेको छ । सांसद राजन केसीले भने, ‘आफ्ने देशका कम्पनीलाई टेन्डरमा सहभागी हुन नदिएपछि अरू देशमा कसरी काम गर्ने ? यो सरासर नेपाली पन्छाउने खेल हो ।’ नेपाली कम्पनीलाई सहभागी हुने गरी मापदण्ड बनाउन दिएको सुझावसहितको सरकारी प्रतिवेदनलाई गुपचुप राखेर विभागले विदेशी कम्पनीले मात्र स्टिकर छाप्न पाउने सर्त राखेको छ । सुरक्षात्मक मुद्रण उद्योग दर्ता गर्न र छपाइका लागि नेपालका निजी कम्पनीले पनि भाग लिन पाउने गरी मापदण्ड तयार गर्न २०७२ मंसिर ६ गते उद्योग विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले मुद्रणमा नेपालका निजी कम्पनीले पनि भाग लिन पाउने गरी मापदण्ड बनाउन सुझाव दिएको थियो ।


सेक्युरिटी प्रेस छैन ः मन्त्रालय
अर्थ मन्त्रालयले लेखा समितिलाई लेखेको जवाफमा नेपालमा सेक्युरिटी प्रेस नभएकाले यस्तो टेन्डर गर्नुपरेको स्पष्टीकरण दिएको छ । ‘यो अत्यन्त संवेदनशील विषय भएकाले नेपाली व्यवसायीलाई समावेश गर्न नसकिएको हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘यसमा राजस्व जोडिएको छ । हाल इन्डोनेसियाको कम्पनीले उक्त स्टिकर छापेर उपलब्ध गराइरहेको छ । विदेशी कम्पनीले त कतिपय अवस्थामा हाम्रो सर्त पालना गर्न सकेका छैनन् तर नेपालमा दर्ता नै नभएका कम्पनीको कसरी विश्वास गर्ने ?’ सेक्युरिटी प्रेस भनेका सेना प्रहरी राखेर स्टिकर छाप्ने छापाखाना हो भन्ने बुझाइ नै गलत भएको ती अधिकारीले बताए । चालु बजेटको नीति तथा कार्यक्रममा सेक्युरिटी प्रेस स्थापना गर्ने प्रावधान रहेको प्रसंग जोड्दै ती अधिकारीले भने, ‘यसको कार्यान्वयन भयो भने नेपालमै छाप्न सकिन्छ ।’


सिमेन्टको गुणस्तर विवाद
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा रहेको नेपाल गुणस्तर परिषद्ले कच्चा पदार्थको परिमाण परिवर्तन गरेर सिमेन्टको गुणस्तर कमजोर बनाउन लागेको अनुमानमा समितिले छानबिन सुरु गरेको हो । परिषद्ले तोकेको मापदण्डअनुसार उत्पादन गरेमा यस्तो गुणस्तरको सिमेन्ट प्रयोग गरिएका संरचनाहरू चाँडै फुट्ने खतरा रहन्छ ।

Page 12
अर्थ वाणिज्य

७३ चार्टर्ड एकाउन्टेन्ट

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले जुन २०१९ मा सञ्चालन गरेको चार्टर्ड एकाउन्टेन्सी सीएपी तीन तहको परीक्षाफल प्रकाशित गरेको छ । नतिजाअनुसार ४७ जना परीक्षार्थीहरू चार्टर्ड एकाउन्टेन्सीको अन्तिम परीक्षा उत्तीर्ण भई सदस्यताका लागि योग्य भएका छन् । चार्टर्ड एकाउन्टेन्सीको पहिलो तहको परीक्षामा ६८३ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । दोस्रो तहको परीक्षामा ३४४ र तेस्रो तहमा ७३ परीक्षार्थी उत्तीर्ण भएका छन् । 

अर्थ वाणिज्य

लक्ष्मी–तिलगंगा सम्झौता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– लक्ष्मी बैंक र तिलगंगा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारका लागि सहयोगसम्बन्धी सम्झौता भएको छ । सुस्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउने उद्देश्यसहित बैंकले बालबालिकाका आँखाको क्यान्सरको उपचारका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

अर्थ वाणिज्य

कतार एयरवेज–इन्डिगो सहकार्य

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– दोहाको कतार एयरवेजले भारतको एयरलाइन्स इन्डिगोसँग कोड सेयर सम्झौतामा हस्ताक्षर गरेको छ । पहिलो कोड सेयर लाइट पुस २ गते (डिसेम्बर १८) देखि सञ्चालन हुने भएको छ । यस सम्झौतासँगै कतार एयरवेजले दोहादेखि दिल्ली, मुम्बई र हैदराबादसम्मका इन्डिगोका लाइटहरूमा आफ्नो कोड राख्नेछ । यो सम्झौता ‘संसारकै सर्वश्रेष्ठ एयरलाइन’ र ‘न्यून लागतको सर्वश्रेष्ठ भारतीय एयरलाइन’ बीचको सम्बन्ध मजबुत बनाउने पहिलो कदम रहेको एयरवेजले जनाएको छ ।

Page 13
समाचार

रूप ज्योतिलाई ३ दिन हिरासतमा राख्न अनुमति

- कान्तिपुर संवाददाता

(काठमाडौं) - ठगी आरोपमा पक्राउ परेका ज्योति समूहका सञ्चालक तथा पूर्वमन्त्री रूप ज्योति र उनकी छोरी सुरुचिलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सिंगापुरबाट स्वदेश आउने क्रममा बिहीबार प्रहरीले बाबुछोरीलाई पक्राउ गरेको थियो । दुवै जना ज्योति र स्याकार कम्पनीको संयुक्त लगानी रहेको ल्यान्डमार्क डेभलपर्स प्रालि (हाउजिङ) का सञ्चालक हुन् । ०७५ मंसिर १६ मा उनीहरूसहित ९ जनाविरुद्ध विज्ञेन्द्रकृष्ण मल्लले प्रहरीमा निवेदन दिएका थिए । त्यसको चार दिनपछि काठमाडौं अदालतले ९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।
जिल्लाको निर्णयविरुद्ध रूप ज्योतिले सोही महिनाको २४ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले पक्राउ पुर्जी जारी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । एक वर्षअघि दायर उक्त रिट सर्वोच्चले मंगलबार खारेज गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पुर्जी जारी भएका अरू ७ जना फरार छन् । प्रहरीका अनुसार ल्यान्डमार्क (जसमा ज्योति समूहको ५० लाख, स्याकारको ९ करोड ५० लाख र जय स्पिनिङ मिल्सको १० हजार गरी १० करोड १० हजार स्वामित्व छ) ले मल्ललाई महाराजगन्ज/बाँसबारीमा ६ आना ३ दाम २ पैसा क्षेत्रफलमा घर बनाइदिने भन्दै ०७१ सालमा रकम लिएको थियो । ल्यान्डमार्कले मल्लबाट सुरुमा १० लाख, त्यसपछि १ करोड २६ लाख रुपैयाँ लिएर घर बनाउने जिम्मा सीई कन्स्ट्रक्सनलाई दिएको थियो । सीईले तयार पारेको घर भने मल्लले पाएनन् । उक्त घर ज्योति समूहकै सदस्यका नाममा पास गरिएको थाहा पाएपछि ठगीको उजुरी गरेका हुन् ।
‘१ करोड ३६ लाख ठगीको आरोपमा ल्यान्डमार्कका सञ्चालक रूप ज्योतिसहित ९ जनाविरुद्ध पोहोर नै उजुरी परेको थियो,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले भने, ‘दिएको रकम रूप ज्योति तथा ल्यान्डमार्कका सञ्चालकले क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्ने माग निवेदकको छ ।’

समाचार

'परिवर्तन कम्युनिस्टबाट मात्रै'

- कान्तिपुर संवाददाता

गण्डकी (कास)– नेकपा अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा अहिलेसम्म भएका र अबका दिनमा हुने परिवर्तन कम्युनिस्ट पार्टीबाटै सम्भव भएको बताएका छन् । पोखरामा शुक्रबार आयोजित कार्यकर्ता प्रशिक्षणमा उनले कम्युनिस्ट शक्ति एकढिक्का हुनुपर्ने बताए । ‘कम्युनिस्ट सरकारप्रतिको विश्वास जनतामा कायमै छ भन्ने सन्देश प्रवाह गर्न उपनिर्वाचन जित्नैपर्छ,’ उनले भने, ‘हामी गुट, उपगुट भन्दै एकआपसमा विरोध गर्दै फुट्न होइन, जुट्न लागौं ।’ 

समाचार

उत्तर कोरियाली टोलीले भेट्यो नेपाललाई

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल भ्रमणमा रहेको उत्तर कोरियाली संसद्का उपप्रमुख तथा प्योङयाङ सहरका अध्यक्ष चो हुई रिम नेतृत्वको टोलीले शुक्रबार नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ । नेकपा विदेश विभाग प्रमुखसमेत रहेका नेपाललाई उत्तर कोरियाली टोलीले उनकै निवास कोटेश्वरमा भेटेको हो । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार चो र नेपालबीच दुई मुलुकको हित र आपसी सद्भावबारे कुराकानी भएको थियो । 

Page 14
समाचार

समाजवादी पार्टी दोधारमा

(काठमाडौं) - नेकपासँग सत्ता साझेदार समाजवादी पार्टीले सरकारले बस्ने वा बाहिरिने लगायतका विषयमा टुंगोमा पुग्न संघीय परिषद् र केन्द्रीय समितिको बैठक बोलाएको छ । सरकारमा बसेर पनि राम्रो भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टीभित्र बढिरहेको आलोचना एवं एकीकरण प्रक्रियामा जोडिन खोजेको राजपाले समेत सरकारबाट बाहिरिनुपर्ने सर्त तेर्‍याईरहका बेला निष्कर्षमा पुग्न बैठक बस्न लागेको हो । आगामी बिहीबारदेखि हुने तीनदिने बैठकले समाजवादीको नेकपासँगको सत्तायात्राको भविष्य निर्धारण गर्नेछ ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको १७ महिना बितिसक्दा पनि संविधान संशोधनमा सरकार उदासीन बनेको भन्दै नयाँ शक्ति पार्टीबाट जोडिएको समाजवादीको एउटा समूह तत्काल सरकारबाट बाहिरिनुपर्ने अडानमा छ । पूर्वसंघीय समाजवादी पार्टीको समूह भने प्रधानमन्त्रीले संविधान संशोधन हुँदैन नभनेसम्म बाहिरिन नहुने अडानमा छ ।
तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरणपछि औपचारिक रूपमा पहिलोपटक सरकारमा रहने वा नरहने भन्ने विषय बैठकको एजेन्डा बनेको महासचिव गंगानारायण श्रेष्ठले बताए । ‘समाजवादी पार्टी ससर्त सरकारमा गएको हो । सरकारले संविधान संशोधन नगर्नेर् भइसकेपछि सरकारमा बस्नुको औचित्य छैन,’ उनले भने, ‘यसको अर्थ केटाकेटी पाराले सरकार छाड्ने भन्ने पनि होइन । संघीय परिषद् र केन्द्रीय समितिको बैठक बस्दै छ । त्यहाँ यसबारे छलफल हुन्छ ।’
तत्कालीन फोरम र नयाँ शक्तिबीच पार्टी एकता हुँदा पनि संविधान संशोधन नभए सरकार छाड्ने सहमति भएको नेताहरूले बताएका थिए । त्यहीअनुसार नयाँ शक्ति समूहले सरकार छाड्न बारम्बार दबाब दिँदै आएको छ ।
अध्यक्ष बाबुराम भट्टराईले सत्ताको साझेदार नभई संविधान संशोधन गर्नका निम्ति तत्काल दुई तिहाइ बहुमत पुर्‍याउन सरकारलाई साथ दिएको बताउँदै आएका छन् । डेढ वर्ष नाघिसक्दा पनि सरकारले संविधान संशोधन गर्न कुनै चासो नदिएको अवस्थामा सत्ता साझेदारी गरिहनुको औचित्य नभएको भनाइ उनले गोरखामा एउटा कार्यक्रममा व्यक्त गरेका थिए ।
सरकारबाट बाहिरिने अभिव्यक्ति अध्यक्ष उपेन्द्र यादवले दिने गरे पनि तत्काल सरकारबाट बाहिरिन नहुने मनसायमा यादव नरहेको उनी निकट एक नेताले बताए । ती नेताले भने, ‘संविधान संशोधनमा प्रधानमन्त्री ओली उदासीन देखिए पनि तत्काल सरकारबाट बाहिरिन हुँदैन भन्ने पक्षमा उहाँ (यादव) हुनुहुन्छ ।’
समाजवादीकी उपाध्यक्ष रेणु यादवले आउँदो बैठकबाटै सरकारमा बस्ने वा छोड्ने निर्णय हुने बताइन् । ‘संविधान संशोधन गर्नुपर्छ भन्ने हाम्रो कुरा हो, त्यसमा सरकारले पहल गर्नुपर्छ,’ उनले भनिन्, ‘अब के गर्ने भन्ने बैठकले निर्णय गर्छ ।’ अर्कोतर्फ, राजपा र समाजवादी पार्टीबीच पार्टी एकीकरणको छलफल अगाडि बढ्दै गर्दा राजपाले सरकारबाट बाहिरिनुपर्ने प्रस्ताव राखेपछि एकीकरण प्रक्रिया रोकिएको छ । राजपाले राखेको सर्तमा समाजवादी पाटीभित्रै विवाद छ ।
एउटा पक्ष सरकार छाडेर राजपासँग पार्टी एकता गर्नुपर्ने र अर्को पक्ष भने सर्त मानेर पार्टी एकताका लागि हतार गर्न नहुने अडानमा छन् । १८ जेठ २०७५ मा ओली सरकारमा सहभागी समाजवादीबाट अध्यक्ष यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री, सुरेन्द्रकुमार यादव स्वास्थ्य राज्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री छन् ।
उपप्रधानमन्त्री यादवले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीलाई गत पुस २२ मा बालुवाटारमा ११ बुँदे स्मरणपत्रका बुझाएका थिए । सरकारको कार्यशैली सुधार्ने र संविधान संशोधन गर्ने सहमति कार्यान्वयन गर्नुपर्ने त्यसमा उल्लेख थियो ।

बबिता शर्मा

समाचार

नरभक्षी चितुवा खोज्न विज्ञ टोली

- कान्तिपुर संवाददाता

तनहुँ (कास)– बस्ती र घरआँगनमा आएर आक्रमण गरी बालबालिकाको ज्यान लिने चितुवाको खोजीका लागि भानु नगर क्षेत्रका वनमा विज्ञसहितको टोली खटाइएको छ । १, २, ३ र ४ नम्बर वडाका बस्तीमा चितुवाले साँझ घर–आँगनमै खेल्दै गरेको बालबालिकालाई आक्रमण गर्ने क्रम बढेपछि त्रास छ । चितुवा नियन्त्रणका लागि तारन्तार गरिएका उपायमा पछिल्लो पटक विज्ञ टोली परिचालन भएको हो । जंगलमा फुट ट्र्याप र क्यामेरा ट्र्यापिङबाट निगरानी गर्दै काठका परम्परागत खोरमा बाख्रासहितको पासो थाप्ने र विशेष सुरक्षा दस्तासमेत परिचालित गर्दा पनि हालसम्म नरभक्षी चितुवा नियन्त्रणमा आउन सकेको छैन । प्रभावित क्षेत्रका बस्ती साँझ पर्दा नपर्दै सुनसान हुने गरेको छ ।
‘सरोकारवाला निकायबाट प्रयास भए पनि नियन्त्रण गर्न सकिएन,’ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीले भने, ‘त्यसपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरेको थियो । त्यो टोलीसँगै अब विज्ञ पनि छन् ।’ तिहार अगाडि आएर टोलीले प्रभावित क्षेत्रको अवस्था बुझेर गएको थियो । आवश्यक प्राविधिक सामग्रीसहित टोली फिल्डमा खटिएको जानकारी उनले दिए । चितवनबाट आएको वन्यजन्तु प्राविधिक टोलीले गस्तीको समयमा एउटा पनि चितुवा नदेखेको वन्यजन्तु प्राविधिक हर्कमान लामाले बताए । ‘चितुवाले विशेषगरी साँझ र झिसमिसे बिहानको उज्यालोमा मात्र आक्रमण गरेको पाइएकाले हामीहरू त्यही समय पारेर निगरानी गरिरहेका छौं,’ उनले भने, ‘निगरानी जारी राख्दा चितुवा पक्कै देखिएला ।’ विज्ञ टोलीका सदस्यले चितुवाको आनीबानी र विचरणको समय प्रस्ट्याउँछन् ।
भानु नगरपालिकामा १३ वडा छन् । ५ हजार ७ सय ७७ हेक्टर क्षेत्रफलमा ९६ वटा सामुदायिक वन छन् । यिनमा ९ सय हेक्टरका फैलिएको वन चितुवा प्रभावित क्षेत्र छ । यही वन क्षेत्रसँगै जोडिएका बस्ती छन् । डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको ज्यान गुमाएका छन् भने ७ जना घाइते भएका छन् । घटना हुन थालेदेखि नै वन डिभिजन कार्यालयले चितुवाको खोजी सुरु गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले नरभक्षी चितुवालाई गोली हानी मार्ने निर्देशन जारी गरिसकेको छ ।

समाचार

२५ देशका पशुविज्ञ पोखरामा

- कान्तिपुर संवाददाता

गण्डकी (कास)– नेपाल भेटनरी एसोसिएसनको आयोजनामा पोखरामा सस्टेनेबल एनिमल एग्रिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी) को सातौं अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार सुरु भएको छ ।
पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले आयोजित चारदिने सम्मेलनमा नेपालसहित अमेरिका, थाइल्यान्ड, चीन, भुटान, लाओस, भियतनाम, भारत, इन्डोनेसिया र अस्ट्रेलियालगायत २५ देशका विज्ञ सम्मेलनमा सहभागी छन् ।
साना र मध्यमस्तरका किसानलाई लक्षित गरी पर्यावरणमैत्री दिगो पशुपालनका लागि पशु चिकित्सा, पशु स्वास्थ्य, पशु पोषण र घाँसेबाली तथा हिमाली क्षेत्रमा पालिने याकको संरक्षणलगायतका विषयमा सम्मेलनमा छलफल गरी घोषणापत्र जारी गर्ने कार्यक्रम छ । सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए ।

Page 15
खेलकुद

क्रिकेटमा भारत र पाकिस्तान नखेल्ने

- विनोद पाण्डे

(काठमाडौं) - १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा क्रिकेटतर्फ भारत र पाकिस्तान नखेल्ने भएका छन् । साग मंसिर १५ देखि २४ सम्म नेपालले आयोजना गर्दै छ । नेपाल तेस्रो पटक दक्षिण एसियाली खेलकुद मेला आयोजना गर्नेक्रममा छ ।
निर्धारित तालिकाअनुसार पुरुष क्रिकेट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र महिला क्रिकेट पोखरा क्रिकेट रंगशालामा हुनेछ । तर विश्व क्रिकेटका शक्तिशाली भारत र पाकिस्तानले क्रिकेटमा सहभागिता नजनाउने भएका छन् । क्रिकेटमा नेपालसहित श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानले मात्र खेल्ने छन् ।
सागमा दोस्रो पटक क्रिकेट समावेश गरिएको हो । बंगलादेशमा सन् २०१० मा भएको ११ औं सागमा क्रिकेटलाई पहिलोपल्ट समावेश गरिएको थियो । तर भारतले त्यो सागसहित २०१४ को इन्चोन एसियाली खेलकुदमा पनि क्रिकेटमा सहभागिता जनाएको थिएन ।
पाकिस्तानले पुरुष फुटबलमा भाग नलिने भएको छ । पाकिस्तान नखेलेपछि ६ राष्ट्रले मात्र फुटबलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको पछिल्लो सागमा आयोजकलाई २–१ ले पराजित गरी फुटबलको स्वर्ण जितेको थियो । नेपालको पुरुष फुटबल टोलीले १९८४, १९९३ र २०१६ मा गरी तीन पटक सागको फुटबल स्वर्ण जितेको छ । भारतले १९९५ को मद्रासयता सागमा फुटबलको स्वर्ण जित्न सकेको छैन ।
निर्धारित तालिकाअनुसार सागको पुरुष फुटबल काठमाडौं दशरथ रंगशाला र महिला फुटबल पोखरा रंगशालामा हुने कार्यक्रम छ । ६ टोलीमात्र भएकाले फुटबलका खेलहरू उद्घाटनकै दिन मंसिर १५ देखि हुने तालिका छ । फुटबल यसअघिका सागमा उद्घानटनको २–३ दिनअघि नै सुरु हुने गर्थ्यो । भलिबलका खेल भने चार दिनअघि अर्थात मंसिर १० र उसु मंसिर १३ देखि सुरु हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भलिबलको महिला र पुरुष दुवैको प्रतिस्पर्धा हुनेछ ।
‘सम्बन्धित देशले खेलसंख्या दर्ता गरिसकेका छन् र खेलाडी दर्ता हुनेक्रम जारी छ । त्यो अन्तिम समयसम्म चल्नेछ,’ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने । शनिबारदेखि काठमाडौंमा बस्ने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको कार्यकारिणी बैठकले सबै टुंगो लगाउने छ । तीनदिने बैठकमा सम्बन्धित देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
भारतको पछिल्लो सागमा जस्तै यसपटक ट्रायथलनमा तीन देशले सहभागिता जनाउने छ । पोखराको लेकसाइडमा हुने ट्रायथलनमा नेपाल, भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । तीन सातापछि हुने सागमा २७ खेल समावेश हुने भनिए पनि प्याराग्लाइडिङ हटाइएको छ । सागमा प्याराग्लाइडिङलाई पहिलोपल्ट समावेश गरिएको हो । पोखराको साराङकोटमा हुने भनिएको प्याराग्लाइडिङमा नेपालबाहेक अन्य राष्ट्रले सहभागिता नजनाउने भएपछि यस खेललाई हटाउनुपरेको हो । यद्यपि प्याराग्लाइडिङ हटाइएको आधिकारिक निर्णय भने गरिसकेको छैन । ‘पाकिस्तान खेल्न तयार छ र भारतले मानेको खण्डमा प्याराग्लाइडिङको प्रतिस्पर्धा हुनेछ । भारतको प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय संस्था नभएकाले सहभागी हुन केही समस्या देखिएको छ,’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले भने । उनले पूर्वाधारका कारण साग नरोकिने जनाउँदै भने, ‘साग आयोजनाको चिन्ता सबैभन्दा बढी मलाई छ । निर्धारित मितिमै आयोजना हुनेमा म ढुक्क छु ।’
नेपाल र श्रीलंकाले सबै २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । बंगलादेशले ट्रायथलनबाहेक अन्य २५ खेलमा सहभागिता जनाउने छ । भारतले २१, पाकिस्तानले १८, भुटानले १४ र माल्दिभ्सले ११ खेलमा आफ्ना खेलाडीलाई उतार्ने पक्का गरेका छन् । भारतले आर्चरी, क्रिकेट, कराँते, तेक्वान्दोलगायत खेलमा भाग लिने छैन । भारतको आर्चरी निलम्बनको अवस्थामा छ भने कराँते र तेक्वान्दोमा विवाद रहेकाले नखेल्ने बताइएको छ । पाकिस्तानले क्रिकेट, फुटबलसहित आर्चरी, साइक्लिङ, फेन्सिङ,
ह्यान्डबल, कबड्डी, खोखो र ट्रायथलनमा प्रतिस्पर्धा नगर्ने भएको छ ।
शुक्रबार प्राप्त जानकारीअनुसार आयोजक नेपालले सबैभन्दा बढी ६ सय ३६ खेलाडी उतार्ने सम्भावना छ । त्यस्तै बंगलादेशका ५ सय ९१, श्रीलंकाका ५ सय ५६, भारतका ५ सय ३५, पाकिस्तानका ३ सय ७८, माल्दिभ्सका २ सय ५२ र भुटानका १ सय १७ खेलाडीले सागमा प्रतिस्पर्धा गर्ने भएका छन् ।डिङबाहेक पोखरामा ८ खेल र जनकपुरमा कुस्ती तथा अन्य सबै खेलको प्रतिस्पर्धा राजधानीमा हुनेछ । पोखरामा आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, हयान्डबल, ट्रायथलन, बिच भलिबल र भारोत्तोलन हुनेछ । सागको उद्घाटन र समापन दशरथ रंगशालामा हुनेछ ।

खेलकुद

‘अफगानको सहभागिता रहन्न’

- कान्तिपुर संवाददाता

१३ औं सागमा सहभागी हुन इच्छुक देखिएको अफगानिस्तानले प्रतियोगिता खेल्न नपाउने भएको छ । सन् २००४ को नवौंदेखि २०१६ को १२ औं संस्करणसम्म सागमा सहभागिता जनाएको अफगानिस्तानले पछिल्लो संस्करणलगत्तै आफ्नो सदस्यता मध्य एसियाली क्षेत्रमा सारेको थियो ।
केहि साताअघि नेपाल ओलम्पिक कमिटीसँग अफगानिस्तानले सागमा भाग लिने इच्छा व्यक्त गरेको थियो । तर ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले अनुमति दिनुपर्ने व्यवस्था भएका कारण अफगानिस्तानको सहभागिता नहुने निश्चित भएको हो । ‘३ वर्षअघि अफगानिस्तान हामीसँग छुट्टिएर मध्य एसियामा गएको थियो । त्यहाँ खेलकुद गतिविधि कम भएको भनेर उसले फेरि सागमै फर्कन इच्छा देखाएको थियो,’ दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘अफगानिस्तानलाई पुनः दक्षिण एसियाली क्षेत्रमा ल्याउन ओसीएको साधारणसभामार्फत स्वीकृति लिनुपर्छ, जुन अहिले सम्भव भएन ।’
अध्यक्ष श्रेष्ठले अफगानिस्तानलाई आसन्न सागमा सहभागी गराउने विषयमा छलफल पनि भएको र केही खेलमा सहभागिताको प्रस्ताव गरिएको जानकारी दिए । ‘उनीहरू मार्सल आर्ट्समा बढी इच्छुक देखिन्थे, हामीले उनीहरूले चाहेअनुसारको खेलमा भाग लिन अहिलेलाई दिएनौं,’ श्रेष्ठले भने ।

खेलकुद

नेपालको हार

- कान्तिपुर संवाददाता
नेपालविरुद्ध जित पाएपछि एमसीसीका खेलाडी । तस्बिर ः हेमन्त श्रेष्ठ/कान्तिपुर

 

काठमाडौं (कास)– मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा नेपाललाई २ सय ८ रनले पराजित गरेको छ । तेस्रो तथा अन्तिम दिन शुक्रबार अन्तिमसत्रमा ३ सय ९३ रनको पाएको नेपालको दोस्रो इनिङ्स ४१ औं ओभरमा १ सय ८४ रनमै समेटिएको थियो ।
१४ वर्षपछि मान्यताप्राप्त तीनदिवसीय खेलिरहेको नेपालबाट सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए । एमसीसीका माइल्स हेमोन्डलाई लगातार दुई चौका प्रहार गरेका सोमपाल त्यसपछिको अर्को बलमा आउट भए । उनले ८३ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । आउट हुने अन्तिम ब्याट्सम्यान उनले सन्दीप लामिछानेसँग नवौं विकेटमा ५० रनको साझेदारी गरेका थिए ।
पहिलो इनिङ्समा अविजित ३९ रन बनाएका सन्दीप २५ रनमा एलबीडब्लू आउट भए । सन्दीपले अघिल्लो दिन एलेक्स थम्पसनलाई लगातार ३ छक्का प्रहार गरेका थिए । उनले शुक्रबार पनि थम्पसनलाई लगातार बलमा २ चौका र १ छक्का प्रहार गरे ।
कप्तान ज्ञानेन्द्र मल्ललाई ६ रनमै गुमाएको नेपालबाट शरद भेषावकर १५, आरिफ शेख १९ र करण केसी ८ रनमा आउट भए । ओपनर राजु रिजालले ३१ रन बनाए । दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र पवन सर्राफले खाता खोल्नै सकेनन् । नेपालका ६ खेलाडी एलबीडब्लू आउट भए । एमसीसीका ओलिभर हेनोन डाल्बीले ५ विकेट लिए । उनले ६ ओभरमा २ मेडन राख्दै ११ रन खर्चे । थम्पसनले ३ विकेट लिए ।
यसअघि एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर शुक्रबार बिहान इनिङ्स समाप्तिको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दियो । नेपालबाट शुक्रबार करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । अघिल्लो दिन पवन सर्राफ र ललितनारायण राजवंशीले १–१ विकेट लिएका थिए ।
एमसीसीबाट इड योङ ३१, टिम वेस्ट्ली ३४, माइल्स हेमोन्ड ११, विल भानडेरस्पार ६ रन बनाई आउट भए । नेपालले एमसीसीलाई पहिलो इनिङ्समा ३ सय ६४ रनमा अलआउट गर्दा पनि करण र सन्दीप लामिछानेले ३–३ विकेट लिएका थिए । जवाफमा नेपालले १ सय ५३ रनमात्र बनाउन सके पनि नेपाललाई फलोअनमा बोलाएको थिएन ।

खेलकुद

आर्मी फाइनलमा

- अर्जुन राजवंशी

(बिर्तामोड) - संघर्षपूर्ण खेलमा जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । डोमालाल राजवंशी रंगशालामा शुक्रबार सेमिफाइनलमा पाहुना टोली सिक्किमको आक्रामक फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
निर्धारित सय गोलरहित बराबरीमा सकिएपछि नतिजाका लागि टाइब्रेकर खेलाइएको थियो । टाइब्रेकरमा आर्मीका दीपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतको पेनाल्टी गोल भयो । कप्तान टेकबहादुर बुढाथोकीको पहिलो पेनाल्टी प्रहारलाई सिक्किमका गोलकिपर मनोज प्रधानले रोकेका थिए । सिक्किमका मनोज कच्भा, वीरेन प्रधान र करण राईले गोल गरे । विकास क्षेत्रीको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने एन्थोनी क्षेत्रीको पेनाल्टी आर्मीका गोलकिपर विवश चौधरीले रोकेका थिए ।
खेलको पहिलो हाफमा सिक्किम हाबी थियो । तेस्रो मिनेटमा आर्मीका डिफेन्डरले गरेको गल्तीको फाइदा सिक्किमले उठाउन सकेन । उसका गणेश लिम्बुले बक्सभित्रबाट प्रहार बाहिरियो । नवौं मिनेटमा सिक्किमकै सुरज रसाइलीले पोस्टतर्फ लक्षित सशक्त प्रहार हुन सकेन । दोस्रो हाफमा भने आर्मीले आक्रामक खेल खेलेको थियो । ५२ औं मिनेटमा आर्मीका दीपक गुरुङको फ्रिकिक प्रहार पोस्ट माथिबाट बाहिरियो । आर्मीका टंक बस्नेत, टेकबहादुर, राजीव गुरुङलेअवसर खेर फालेका थिए ।
आर्मीका गोलकिपर विवश चौधरी म्यान अफ द म्याच घोषित भए । शनिबार पुलिस क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।

खेलकुद

लिटिल फ्लावर विजयी

- कान्तिपुर संवाददाता

धनगढी (कास)– धनगढीमा जारी प्रिमियर लिग क्रिकेटमा लिटिल फ्लावर स्कुल धनगढीे सेमिफाइनलमा पुगेको छ । शुक्रबार पहिलो क्वाटरफाइनलमा भक्तपुरको निस्ट स्कुललाई २ विकेटले हराउँदै लिटिल फ्लावर अन्तिम चारमा पुगेको हो ।
एक सय ४ रनको लक्ष्य लिटिल फ्लावरले ८ विकेट गुमाई तीन बलअघि पूरा गर्‍यो । अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा लिटिलका किशोर सिंहले २ चौका प्रहार गर्दै टोलीलाई जिताए । सुबोध ऐरले २८, आयुब चन्दले १९ तथा विपिन रावल र महेश अधिकारीले समान १३ रन बनाए । निस्टका सोहन यादवले ४ तथा डब्लु मलिक, दीपेन्द्र ऐरी र धनञ्जय शाहले १–१ विकेट लिए । यसअघि निस्टले १८.३ ओभरमा सबै विकेट गुमाई १ सय ३ रन बनायो । सोहनले २१, दीपेन्द्र ऐरीले १६ र सुदीप खड्काले १५ रन बनाए । फ्लावरका दीपक रोकायले ४, किशोर सिंह र प्रकाश बडुले ३–३ विकेट लिए । किशोर सिंह म्यान अफ द म्याच भए ।
शुक्रबारै अन्तिम लिग खेलमा एबीसी स्कुल नेपालगन्जले सैनिक आवासीयलाई ५ रनले हराउँदै क्वाटरफाइनल पक्का गरेको छ ।

खेलकुद

सिद्धार्थ क्वाटरफाइनलमा

- कान्तिपुर संवाददाता

रूपन्देही (कास)– ज्ञानबहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगितामा शुक्रबार सिद्धार्थ युवा क्लब बाँसगढी विजयी भएको छ । सिद्धार्थले सिम्रिक युवा क्लब कालिकानगरलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।
रामनगर खेलमैदानमा सिद्धार्थका जमिर मियाले एकमात्र गोल गरे । खेलको ६६ औं मिनेटमा विमल श्रीसको पासमा जसिरले गोल गरे । उनी म्यान अफ द म्याच भए । शनिबार क्वाटरफाइनलमा आयोजक सयपत्री युवा क्लबले पाल्पा–११ को सामना गर्नेछ ।

Page 16
खेलकुद

रंगशाला रुङ्दै मन्त्री

मन्त्री जगतबहादुर विश्वकर्मा घण्टा–घण्टाको हिसाब गरेर दशरथ रंगशाला निर्माणको काममा निगरानी गर्दैछन् । अबको २–३ दिनमा सम्पूर्ण तयारीले ठोस परिणामको आकार लिने उनको दाबी छ ।
- कुशल तिमल्सिना
शुक्रबार दशरथ रंगशालास्थित भीआईपी प्यारापिटको अवलोकन गर्दैर् खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा । तस्बिर ः हेमन्त श्रेष्ठ/कान्तिपुर

(काठमाडौं) - मन्त्रालयमा मुस्किलले भेटिन्छन्– युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा । अचेल उनको दिनचर्या फेरिएको छ– मन्त्री निवास पुल्चोकबाट बिहान ६ बजे नै दशरथ रंगशाला पुग्नु र राति १०–११ बजेसम्म त्यहीँ रहेर प्रत्यक्ष निगरानी गर्नु ।
नेपालमा हुने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेलकुद मेला हो– दक्षिण एसियाली खेलकुद (साग) । सागको १३ औं संस्करण मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुँदै छ । बिडम्बना त्यसका लागि अहिलेसम्म भौतिक पूर्वाधार निर्माण पूरा भएको छैन । प्रतियोगिताको उद्घाटन र समापनसहितको मुख्य खेलस्थल दशरथ रंगशाला नै तयार हुनसकेको छैन । निर्धारित समयमै प्रतियोगिता गर्नुपर्ने बाध्यात्मक अवस्थाबीच पछिल्लो केही सातादेखि रंगशाला बनाउने कामले उल्लेख्य गति लिएको छ । त्यसमा एउटै कारण हो, निर्माणस्थलमा खेलकुद मन्त्रीको ‘धर्ना’ ।
राष्ट्रको प्रतिष्ठासँग जोडिएको १३ औं साग आयोजनाको मिति दुई पटक सरेर मंसिरका लागि तय भएको हो । यसपालि पनि निर्धारित समयमै प्रतियोगिता आयोजनाप्रति ढुक्क नभएपछि युवा तथा खेलकुदमन्त्री विश्वकर्मा आफैं निर्माणस्थलमा खटिएका हुन् । सरकारको बहालवाला मन्त्रीबाटै प्रत्यक्ष निगरानी भएपछि ठेकेदार कम्पनीलाई दबाबमात्र भएको छैन, उसले स्रोतसाधनको आपूर्ति पनि सहज रूपमा पाएको छ । साग आयोजनाका लागि २२ दिनको समय बाँकी छँदा अहिले दशरथ रंगशाला तयार गर्न सय बढी कामदारले दुई सिफ्टमा काम गरिरहेका छन् ।
कात्तिक १४ देखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा नवनिर्मित खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको भवनमा सचिवालय स्थापना गरी मन्त्री विश्वकर्माले साग तयारीलाई नजिकबाट निगरानी सुरु गरेका हुन् ।
मन्त्री निवास पुल्चोकबाट बिहान ६ बजे नै परिषद् आउने र राति १०–११ बजेसम्म रंगशालामै रहेर सम्पूर्ण तयारीमा प्रत्यक्ष अनुगमन गर्नु मन्त्रीको दिनचर्या बनेको हो ।
‘मन्त्रिपरिषद बैठक र मन्त्रालयमा अत्यावश्यक बैठकबाहेक अरु समय यहीं हुन्छु । तयारीलाई मसिनो गरी नियालिरहेको छु । आवश्यक ठाउँमा सुझावहरू दिएको छु,’ शुक्रबार अपराह्न निर्मार्णाधीन भीआईपी प्यारापिटबाट कान्तिपुरसँग मन्त्री विश्वकर्माले भने, ‘हामीले घण्टा–घण्टाको हिसाव गरेर काम गर्नुपर्नेछ । त्यसको अपडेट लिने, निर्माण कम्पनीसँग निरन्तर कुराकानीमा रहने गरी काम गरिरहेको छु ।’
एक सातायता मन्त्री विश्वकर्मा आफ्नै घर निर्माणमा खटिएझैं रंगशालावरिपरि देखिन्छन् । उनी कहिले भीआईपी प्यारापिटको छानोलाई तयार पारिएको फलामे पोलको कामको निरीक्षणमा हुन्छन्, कहिले साधारण प्यारापिटतर्फ कुर्ची राख्ने कामको अनुगमन गर्न पुग्छन् । कहिले रंगशालाको उत्तर–पश्चिममा निर्माण भइरहेको हिमाल–पहाड–तराईको पहिचान झल्काउने प्रतिमाका सुझाव दिइरहेको भेटिन्छन् मन्त्री, कहिले सदस्य–सचिव रमेशकुमार सिलवालसँग प्रशासनिक तयारीबारे ब्रिफिङ लिइरहेका हुन्छन् ।
खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेको डेढ वर्षबीचमा मन्त्रिपरिषदको कार्य मूल्यांकनमा अहिलेसम्म सकारात्मक परिणाम नपाएका मन्त्री विश्वकर्माका लागि साग आयोजना आफूलाई प्रमाणित गर्ने अवसर पनि हो । पटक–पटक सरेर अन्तर्राष्ट्रिय बेइज्जतको नैतिक जिम्मेवारीबाट जोगिन पनि मन्त्रीको यो सक्रियता देखिएको हो । नत्र भने गत वर्षको फागुनमै मन्त्री विश्वकर्माकै आग्रहमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले यो मितिका लागि आयोजनाको निर्णय गरेको थियो । यसबीचको ९ महिना निस्क्रियप्रायः देखिएका मन्त्री विश्वकर्माको अन्तिम समयको सक्रियता उदेकलाग्दो देखिन्छ ।
‘२०७३ सालमै नेपालले यो प्रतियोगिताको जिम्मा पाएको थियो । त्यसयता जिम्मेवार व्यक्तित्वले आ–आफ्नो जिम्मेवारी सही रूपमा निभाएको भए हामी यस्तो कठिन स्थितिमा आउनुपर्ने थिएन,’ आफ्नो सक्रियताबारे मन्त्री विश्वकर्माले भने, ‘युवा तथा खेलकुद मन्त्रालय, राखेप, ओलम्पिक कमिटी सबै मिलेर १३ औं सागलाई भव्य बनाउन सम्पूर्ण सामर्थ्य लगाएका छौं । राज्यको प्रतिष्ठा र अन्तर्राष्ट्रिय महत्त्वको रूपमा रहेको यो प्रतियोगिता निर्धारित समयमै भव्य आयोजना हुन्छ ।’
आफ्नो मातहतका निकायलाई विश्वास नगरेजस्तो देखिनेगरी मन्त्री आफैं निर्माणस्थलमा खटिनुपर्नाका कारण के हो त ? मन्त्री विश्वकर्माले दुई तर्क अघि सारे । ‘यसअघिका कार्यकारीले आफ्नो जिम्मेवारी वहन गरेको भए गत फागुनमै प्रतियोगिता आयोजना हुन्थ्यो । मेरो कार्यकालमा हामीलाई सबै काम शून्यदेखि सुरु गर्दा समय लाग्यो । अर्को कुरा, धेरैजसो निर्माण सामाग्री विदेशबाट ल्याउनुपर्ने र प्राविधिक कारणले समयमै सामान नआउने, सार्वजनिक खरिद प्रक्रियालगायतका सरकारी झमेला र नेपाली निर्माण कम्पनीको आफ्नै सीमित दायराले पनि समय खाइदियो,’ मन्त्रीले थपे, ‘अन्तिम समयमा जसरी पनि काम सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था र निर्माण कम्पनी कामदारको हौसलाका लागि निर्माणस्थलमै प्रत्यक्ष निगरानीमा बसेको हुँ ।’
आफ्नो प्रत्यक्ष निगरानीयता पूर्वाधार निर्माण र प्रशासनिक काममा सबैले देख्ने गरी परिणाम आउन थालेको मन्त्रीको विश्लेषण छ । पूर्वाधार निर्माणमा ठेकेदार कम्पनीलाई दबाब बढेको छ । यसबीचमा आउने समस्याको समाधान मन्त्री आफैंले गरिदिएका छन् । कार्यस्थलमा सर्वोच्च व्यक्तिकै उपस्थितिले प्रशासनिकतर्फ विषयगत समितिलाई काम गर्ने ऊर्जा मिलेको छ । ‘हामीले यहाँ प्रत्यक्ष निगरानी सुरु गरेयता कार्यप्रगति धेरै नै बढेको छ । निर्माणका क्रममा आउने स–साना समस्याको समाधानका लागि चुस्त समन्वय भएको छ । व्यवस्थापनतर्फ सबै समितिले आ–आफ्नो जिम्मेवारीप्रति तीव्र पारेका छन्,’ मन्त्रीले भने, ‘हिजो–अस्तिसम्म हामीले परिणाम देखेका थिएनौं भने आज–भोलिमा त्यसको प्रतिफल देख्न थालेका छौं । अबको २–३ दिनमा सम्पूर्ण तयारीले ठोस परिणामको आकार लिनेछ ।’
मन्त्री विश्वकर्माले निर्धारित समयमै साग आयोजना हुने कुरामा शंका नगर्न सबैमा अनुरोध गरे । ‘अन्तिम समयमा आइपुग्दासमेत हामीमा प्रतियोगिता हुनेमा शंका यथावत थियो तर अहिले बाँकी पूर्वाधार निर्माणको दैनिक कार्यप्रगति हेर्दा म कसैलाई पनि आयोजनाप्रति शंका नगर्न अनुरोध गर्छु । बरु प्रतियोगिता भव्य बनाउन सबैको सहयोग अपेक्षा गर्छु,’ उनले थपे, ‘मैले अन्तर्राष्ट्रिय पाहुनाहरूलाई मंसिर १५ गतेको उद्घाटन समारोहमा उपस्थ्िितका लागि पत्राचार पनि गरिसकेको छु ।’
पूर्वाधार निर्माणतर्फ साग आयोजनाको मुख्य चुनौती दशरथ रंगशाला, पोखरा रंगशाला र सातदोबाटोस्थित वातानुकूलित पौडी पोखरी नै हो । दशरथ रंगशालाको अन्य काम लगभग सम्पन्न भए पनि भीआईपी प्यारापिटको छानो राख्ने काम बिहीबारमात्रै सुरु भएको छ । मन्त्री विश्वकर्माले मंसिरको पहिलो सातासम्म तीनवटै पूर्वाधार तयार भइसक्ने दाबी गरेका छन् ।
रंगशालाको भीआईपी प्यारापिट निर्माणका लागि चिनियाँ र नेपाली कम्पनीले संयुक्त जिम्मेवारीसाथ काम गरिरहेका छन् । सीएमई–एचटीसी जेभीले ठेक्का पाएको कामअनुसार भीआईपी प्यरापिटको छानोका लागि फलामे बिम ठड्याउने काम बिहीबार सुरु भएको छ । १९ वटा पिलर र त्यसलाई फलामे बिममार्फत एकअर्कामा सेट गरिनेछ । त्यसपछि मात्रै अत्याधुनिक प्रविधिको फ्याब्रिक जडान गर्ने काम हुनेछ । फ्याब्रिक अहिलेसम्म चीनमै छ । चाइना साउदर्न एयरलाइन्सको कार्गो विमानबाट बुधबार फ्याब्रिक नेपाल ल्याइने मन्त्री विश्वकर्माले जानकारी दिए ।

खेलकुद

‘साग सार्नेबारे सोच्न सकिन्न’

- कान्तिपुर संवाददाता

उद्घाटन र समापनस्थल दशरथ रंगशाला, अर्को मुख्य खेलस्थल पोखरा रंगशाला र वातानुकूलित पौडी पोखरी निर्माण सम्पन्न नहुनुका बीच नेपालले २२ दिनपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गर्दै छ । पूर्वाधार र प्रशासनिक तयारीको अपडेटसहित मंसिर १५ देखि २४ सम्म हुने प्रतियोगिताको आयोजना निश्चित गर्न शनिबारदेखि काठमाडौंमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक बस्दैछ । बैठकका लागि सार्कका सबै देशका ओलम्पिक कमिटीका प्रतिनिधिको आगमन भइसकेको छ । आइतबार सहभागी सबै देशका ‘सेभ द मिसन’ को सेमिनार पनि हुनेछ ।
दक्षिण एसियाली ओलम्पिक कमिटीको अध्यक्षता गरिरहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार बस्ने बैठकले प्रतियोगिताको आयोजना निश्चित हुने जानकारी दिए । ‘भोलिको बैठकमा हाम्रो खास एजेन्डा छैन, अहिलेसम्मको तयारीको अपडेट हुनेछ र सहभागी सदस्यहरूले खेलस्थलको अनुगमन गर्नेछन्,’ संघीय सांसदसमेत रहेका अध्यक्ष श्रेष्ठले भने ।
सेभ र मिसनको सेमिनारका लागि नेपालबाट ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्य र राखेपबाट राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले प्रतिनिधित्व गर्नेछन् । शनिबार, आइतबार र सोमबार सेभ द मिसनका प्रतिनिधिलाई काठमाडौं र पोखराका खेलस्थल पनि निरीक्षण गराउने कार्यतालिका छ ।
पूर्वाधार तयारीमा भइरहेको अन्योलबीच दक्षिण एसियाली ओलम्पिक काउन्सिल कार्यकारी समितिको बैठकमा प्रतियोगिताको मिति परिवर्तन गर्नेबारे छलफल हुने सम्भावनालाई अध्यक्ष श्रेष्ठले ठाडै इन्कार गरे । ‘हामीले प्रतियोगिता नेपालमै आयोजना गर्न पटक–पटक सम्झौता गरिसकेका छौं । दुईपल्ट मिति सरिसकेको छ । पछिल्लो मितिका लागि अन्तर्राष्ट्रिय पाहुनालाई निमन्त्रणा पनि पठाइसकिएको छ । मंसिर १५ गतेको मितिमा साग उद्घाटन हुन सकेन भने नेपालमा साग हुँदैन,’ उनले थपे, ‘२०२० मा ओलम्पिक वर्ष पर्ने तथा धेरै खेलकुद गतिविधि भएका कारणले डिसेम्बरभित्रमा जसरी पनि साग आयोजना गर्नैपर्छ, सागमा सहभागी धेरैजसो देशको आर्थिक वर्ष जनवरीबाट सुरु भएर डिसेम्बरमा सकिन्छ । डिसेम्बरमा खेल आयोजना भएन भने अर्को मितिका लागि आर्थिक व्यवस्था मिलाउन सम्बन्धित देशलाई समस्या हुन्छ । त्यसैले भोलिको बैठकमा साग सार्नेबारेको छलफल सोच्न पनि सकिन्न ।’
अध्यक्ष श्रेष्ठले पूर्वाधार निर्माणको जिम्मेवारी सरकारको भएकाले निर्धारित समयमै सबै पूर्वाधार सम्पन्न भइसक्ने विश्वास व्यक्त गरे । ‘पछिल्ला प्रतियोगिताहरूमा भन्दा हामी केही पछि परेका छौं तर सम्भावना सकिएको होइन । चुनौतीका रूपमा रहेको वातानुकूलित पौडी पोखरी र दशरथ रंगशालाको निर्माण छिट्टै सम्पन्न हुने रिपोर्ट पाएका छौं, हामी सकारात्मक छौं,’ उनले थपे ।
सेभ र मिसनको टिमले पूर्वाधारमा चित्त बुझाएन भने के गर्ने त ? अध्यक्ष श्रेष्ठले भने, ‘आयोजक कमिटीबाट उनीहरूलाई विश्वस्त पार्ने गरी जवाफ दिन सक्नुपर्छ । सबै देशबाट टेक्निकल कमिटीका पनि प्रतिनिधि आउँछन् र हरेक खेलस्थलको निरीक्षण गर्छन् । सबै उपयुक्त भएपछि नै खेल हुने हो । अहिलेसम्म सम्झौता गरेरै यहाँसम्म आएका हौं र अन्तिमसम्म प्रतियोगितामा पनि सबै सदस्य राष्ट्रले सम्भव भएसम्म सम्झौता गर्नेछन् ।’
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले पनि निर्धारित मितिमै साग आयोजना निश्चित भइसकेको दाबी गरेका छन् । उनका अनुसार सबै तयारीले अन्तिम रूप लिएको छ र मिति सार्ने सम्भावना नै रहँदैन ।

खेलकुद

आकार लिँदै हिटिङ पुल

‘सागको पौडी सञ्चालनका लागि वैकल्पिक स्थान छैन । जसरी पनि सातदोबाटोकै इन्डोर पुल बन्नुपर्छ । अरु विकल्प हामीसँग छैन ।’
- राजु घिसिङ

(काठमाडौं) - भवनमा प्रवेश गरेलगत्तै ‘चेन्जिङ रूम’ मा पुगिन्छ । जुन कामदारहरूको बस्ने कोठा र खाना पकाउने किचनको रूपमा प्रयोग भइरहेको छ । ती कोठाहरूसँगै रहेका बाथरुमको ‘फिनिसिङ’ भने भएको छैन । कोठातिर उक्लिने भर्‍याङ पनि ‘रफ’ नै देखिन्छ । भर्‍याङ उक्लिएलगत्तै अगाडि हेर्दा ठूलो खाडल सामुन्ने छ, जहाँ चार जना महिलाले धूलो बढार्ने र टिप्ने काम गरिरहेका छन् । छानो हाल्नका लागि तयार भएको ‘ट्रस्ट’ रंगाउने काममा एक दर्जन खटिरहेका छन् । निर्माण गरिएका भित्तामा छिटपुट देखिएका टुटफुटमा एक जनाले सिमेन्ट भर्दैछन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडीपरिसरमा निर्माणाधीन इन्डोर स्विमिङ पुल (हिटिङ सिस्टमवाला) मा शुक्रबार दिउँसोको देखिएको दृश्य हो यो । यससँगै सीमा जोडिएको छ, सन् १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) का लागि बनाइएको ५० मिटर लम्बाइको खुला स्विमिङ पुलको । २० वर्षअघिको उक्त पुलमा जाडोका कारण पौडी खेल्नेहरू देखिँदैनन् । तर, पौडिनेका लागि तयार उक्त पुलले छिमेकी बन्न आइपुगेको हिटिङ सिस्टमको स्विमिङ पुललाई जिस्क्याइरहे जस्तो लाग्छ । अहिले झट्टै हेर्दा पत्याउन गाह्रो पर्छ । तर, सत्य यो हो कि मंसिर १५ देखि नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीको प्रतियोगितास्थल यही हिटिङ सिस्टमवाला स्विमिङ पुल हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग २०७४ सालमा भएको सम्झौताअनुसार ठेक्का पाएको किराँतेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनीले १८ महिनाभित्र हिटिङ सिस्टमको स्विमिङ पुल बनाइसक्नुपर्थ्यो । त्यो अवधिको सीमा भनेको चैतमसान्त थियो । तर, समय गुज्रँदै जाँदा पुलको भौतिक पूर्वाधारका काम सम्बन्धित विभागका मन्त्री र सदस्य–सचिवको भाषणमा मात्रै बनिरहेको थियो । सातदोबाटोको अवस्था भने सम्झौता र दुई–चार मजदुरको ठाकठुकमै सीमित थियो । ठेकेदार कम्पनीले दिएको अर्को समय (कात्तिक १५) पनि सकियो तर स्विमिङ पुल तयार भएन । ५ फिट गहिरो पुलको लागि अर्को समयसीमा तोकिएको छ, कात्तिकमसान्त ।
२० करोड रुपैयाँ बढीको योजनाबारे नेपाल पौडी संघका अध्यक्ष अशोकरत्न वज्राचार्यले शुक्रबार भने, ‘ट्रस्टको काम सकियो । टायल राख्न सुरु भयो । आजदेखि पूर्ण रूप (फुल फेज) मा काम सुरु भयो । अबचाहिँ काम भ्याइन्छ होला । बल्ल सागलाई स्विमिङ पुल सकिएला जस्तो देखियो ।’ उनले थपे, ‘पहिला जति कराउँदा पनि काम गर्ने मान्छे नै कम थियो । काम गर्ने जनशक्ति थपिएका छन् ।’ ठेकेदार कम्पनी र इन्जिनियरले ७०–८० जना मजदुरले बिहान ७ देखि राति ११ बजेसम्म काम गरिरहेको बताइए पनि अझै त्यति जनशक्ति कार्यस्थलमा देखिएन ।
खेलाडीले मंसिर १ देखि प्रशिक्षण गर्न पाउनेगरी ठेकेदार कम्पनीले स्विमिङ पुल हस्तान्तरण गर्ने वाचा गरेको पनि अध्यक्ष वज्राचार्यले सुनाए । त्यसप्रति उनी आशावादी छन् । निर्माणका लागि आवश्यक सबै सामग्री आइसकेको पनि उनले बताए । कम्पनीले पनि सबै कार्यको फिनिसिङ (अन्तिम चरण) को काममात्रै बाँकी रहेको जनाएको छ । यो १० लेनको स्विमिङ पुल २५ गुणा २५ मिटरको हो, जसलाई अन्तर्राष्ट्रिय पौडीमा ‘शर्ट कोर्स’ भनिन्छ ।
नेपालले दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता तेस्रोपल्ट आयोजना गर्न लागेको हो । सन् १९८४ मा भएको पहिलो संस्करणमा पौडी त्रिपुरेश्वरमै खेलाइएको थियो । ६ लेनको यो स्विमिङ पुल चार वर्षअघिको महाभूकम्पले क्षतिग्रस्त बनेको छ । आठौं साफ गेम्सका लागि सातदोबाटोमा अन्तर्राष्ट्रिय पौडी परिसर तयार गरिएको थियो । चिसो मौसमको कारण १३ औं सागलाई हिटिङ सिस्टिमको पुल आवश्यक परेको हो, जसको निर्माणलाई प्रतियोगिता नजिकिँदै गर्दा तीव्र पारिएको छ ।
अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना) को नियमानुसार हिटिङ सिस्टमको स्विमिङ पुलको तापक्रम प्रतियोगिताका बेला २६ देखि २८ डिग्री सेल्सियस हुनुपर्छ । अन्तर्राष्ट्रिय मापदण्डको यस्तो किसिमको पहिलो पुलको रूपमा सातोबाटोमा निर्माण भइरहेको हो । १३ औं सागमा पौडीको प्रतिस्पर्धा मंसिर १९ देखि २३ सम्म तोकिएको छ । नेपाली खेलाडीले लिंकन स्कुल, रविभवनमा एक सातायता प्रशिक्षण गरिरहेका छन् । तर, सागको पौडी प्रतिस्पर्धा सञ्चालनका लागि वैकल्पिक स्थान नभएको उल्लेख गर्दै पौडी अध्यक्ष वज्राचार्यले भने, ‘सातदोबाटोकै इन्डोर पुल बन्नुपर्छ । यसको विकल्प हामीसँग छैन ।’

Page 17
कोसेली

न्यायका घाउहरू

- घनश्याम खड्का
राजकुमारी

भोको पेटलाई खाना र नाङ्गो जीउलाई नाना नै न्याय भएजस्तो वर्गविशेषको दृष्टिले हेर्दा न्याय सबका लागि उही छैन । महिलावादका लागि पुरुषको थिचोमिचोको अन्त्य न्याय हो, दलितका लागि जातीय व्यवस्थाको इतिश्री न्याय हो भने कालाहरूका लागि चाहिँ रंगभेदको समूल नष्ट गर्नु नै न्याय हो । मार्क्सवादीहरूका लागि न्याय भनेको सर्वहाराको हातमा सासन हो, पुँजीवादीहरूका लागि चाहिँ सकेसम्म सम्पत्ति जोड्न पाउने स्वतन्त्रता । दृष्टिविहीनका लागि हेर्न पाउनुजत्तिको न्याय अर्को नहोला, सुन्न नसक्नेका लागि ‘शब्द ब्रह्म’ को कर्णस्पर्श नै न्याय हो ।
सामान्य अर्थमा न्याय भनेको दोषीलाई सजाय दिनु हो । प्लेटोले लेखेको पुस्तक ‘द रिपब्लिक’ मा सुकरातको एक प्रश्न छ, ‘न्याय के हो ?’ सुकरात भन्छन्, ‘न्याय सत्य हो ।’ उनका चेला प्लेटो सुकरातको उत्तरमाथि विचारको अर्को फूल चढाउँछन्, ‘न्याय खुसी पनि हो ।’ हुन पनि हो, खुसी नदिने न्याय पनि के न्याय ? फेरि प्रश्न त उठिहाल्छ, सत्यबिनाको खुसी पनि के खुसी ?
हालसम्म विकसित पश्चिमा न्यायका अवधारणा यी दुई गुरु चेलाको ‘सत्य’ र ‘खुसी’ को बीउबाट उम्रेका रूख र फैलिएका हाँगाहरू हुन् जसको सम्बन्ध एकअर्कासँग गहिरो गरी जेलिएको छ । बन्द गर्ने बटन बिग्रेको पुरानो क्यासेट प्लेयरबाट बजिरहने कुनै धुनजस्तो अचेलका विकासे अभियन्ताको मुखबाट अक्सर निस्किरहने पदावली ‘सामाजिक न्याय’ यही गुरु–चेलाको सत्य र खुसीबाट बनेको एक अवधारणा हो । अनि प्रजातन्त्रदेखि मानवअधिकारसम्मका विचारचाहिँ त्यही सामाजिक न्यायलाई पाउने बाटाका रूपमा खनिएका व्यवहारपरस्त दर्शनका बाटा हुन् ।

एउटा सपना यस्तो पनि
हालैको एक दिन बाँके पुरौनीकी एक युवती सुनीता गोडियालाई भेट्दा पच्चीस सय वर्षअघिका यी ग्रीक गुरुचेलाको न्याय दर्शन र त्यसपछि विकास भएका अनेक अवधारणहरूले एकैपटक गिजोल्न आइपुगे । जीवनका प्रारम्भिक दिनहरूमै उनका साथ जे भयो त्यो हदै अन्यायपूर्ण थियो । अनेक सपनाहरू देख्ने यौवनकालमै निराशाहरूबाट गुज्रिएकी र ‘कसै गरी कुनै दिन सिलाइ सिक्न पाए पनि कति हुन्थ्यो’ भन्ने सामान्य सपना पनि पूरा गर्न नसकिरहेकी सुनीतालाई भेट्दा मलाई न्याय र सामाजिक न्यायका यी सबै वादविवाद र दर्शनहरू जिस्क्याएझैं लाग्यो ।
सामान्यजनका जीवनमा यही सामाजिक न्याय ल्याउन भनेर सुरु भएको दसवर्षे सशस्त्र द्वन्द्वको आदि अन्त्य सुनीतालाई थाहा छैन । न उनलाई न्यायका सम्बन्धमा विकास गरिएका शास्त्र र तर्कहरूकै बारेमा थाहा छ । उनलाई के मात्र थाहा छ भने उनका मायालु बाबु धनीराम गोडिया बेपत्ता छन् । हालसम्म जसलाई कुर्दाकुर्दा उनकी आमाको बैंस बितेको छ, जो नहुँदा उनको बालापनको सबै खुसीहरू लुटिएको छ । उनले पढ्न पाउने अनि अघि बढ्न पाउने सबै अवसरहरूको हरण भएको छ अनि जीवनको चौरस्तामा अलमलिएको यस क्षणमा बाटो देखाउने स्नेही मानिसको सर्वथा अभाव भएको छ ।
आफूले किन पढ्न पाइन र सबका बाबु हुँदा आफ्ना बाबुचाहिँ किन छैनन् भन्ने त उनले हालैका वर्षहरूमा मात्रै थाहा पाइन् । तर बाबु कहाँ छन् अनि कसले किन बेपत्ता बनायो भन्ने सुकरातले खोज्ने ‘सत्य’ उनलाई ज्ञात छैन । न उनको जीवनमा प्लेटोले खोजेजस्तो ‘खुसी’ नै उपलब्ध छ ।
‘हर करवा चौथमा’ उनकी आमा रुन्थिन् र त्यसबेला सुनीता ‘बहुतै दुःखी’ हुन्थिन् । यस्तै एक करवा चौथका दिन सुनीताले आमा रुनुको अर्थ जान्न खोजिन्, आफ्नो बाबु घरमा नहुनुको कारण सोधिन् । त्यसपछि मात्रै उनलाई थाहा भयो– उनका बाबुको नाम रहेछ धनिराम । तामाको भाँडाकुँडा बनाएर गुजारा गर्दै आएका धनिरामलाई २०५८ को एक रात सैनिकहरू लिन आए । तिनताकको विद्रोही माओवादीका हितयार धनिरामले बनाइदिन्छन् भन्ने सेनाको आरोप थियो रे ! सुनीताले हालै आमाबाट सुनेकी । माओवादीका लागि हतियार बनाइदिएको अभियोग सत्य हुन कुनै सबुत चाहिएन उनका बाबु बेपत्ता पारिनका लागि । अहिले आएर, माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ‘आफू ओरिजिनल माओवादी नभएको’ ‘सत्य’ खुलासा गरेका छन् । तर, उनका बाबु बेपत्ताको बेपत्तै । त्यति बेलाकी दूधे बच्ची उनलाई बाबु पक्राउ परेपछि आमाले भोग्नुपरेको त्रासदी र आफूले लेखपढ गर्न नपाएको दुःखको ज्ञान भर्खरभर्खर हुन थालेको छ । दाहाल ओरिजिनल नभइदिएजस्तै सुनीताको यो दुःख पनि ‘ओरिजिनल’ नभइदिए हुन्थ्यो, उनको बाबु बेपत्ता पारिएको घटना पनि ‘ओरिजिनल’ नभइदिए कति जाति हुन्थ्यो । तर, यो सब त सुनीताका लागि बुझ्न नसक्ने पहेली मात्रै भएको छ ।
‘हुँदा खाने’ परिवारका छोराछोरीका लागि बाबु नहुनु भनेको पढ्न नपाउनु मात्रै होइन सबै अवसहरूबाट वञ्चित हुनु र बालापन ननिख्रिँदै कठोर श्रम गर्न विवश हुनु हो । प्रस्टै छ, उनका दाजुहरूले झैं सुनीताले पनि लेखपढ गर्न पाइनन् । लेखपढ गर्न नपाएपछि रोजगारीका ढोकाहरू त्यसै बन्द हुने भइगए । उनकी आमा देश दुनियाँ नदेखेकी एक देहाती महिला भएकीले र सुनीताहरू सानै हुनाले धनिराम बेपत्ता भएको कुनै औपचारिक अभिलेखसम्म पनि कहीँ छैन । धनिराम कतिसम्म गरिब हुन गए भने उनी हराउनेहरूको सूचीमा दर्जसम्म पनि हुन सकेनन् । त्यसो हुँदा, पीडितहरूका लागि सरकारले दिने राहत पाउनु त परै जाओस्, बेपत्ताका परिवार भनेर सूचीकृत हुनेको सूचीसम्ममा पनि सुनीताहरूको नाम छैन । पीडितहरूको सूचीमा नाम लेखाउन दौडधुप गर्ने, पिता मरे–बाँचेको पत्ता लगाउने र धनिरामलाई बेपत्ता पार्ने दोषी सैनिकलाई खोजेर कारबाही गर्ने व्यवस्था मिलाउने सामर्थ्य र जानकारी न सुनीताकी आमामा छ, न उनी र उनका दाइहरूमै ।
आमा र दाजुहरूले झैं जे भयो भयो भनेर एक हिसाबले सहँदै आएकी सुनीतालाई एउटा कुरामा भने उधुमै खेद छ– सिलाइ सिक्न नपाएकामा । कपडाहरू सिउन जान्नु उनका लागि यो जीवन गुजारा गर्ने एक उपयुक्त तरिका हो । कसैगरी यो सिक्न पाए आफू आफ्नै खुट्टामा उभिन सक्थेँ र बाबु नभएको दुःखलाई अलिकति भए पनि कम गर्न सक्थेँ भन्ने उनलाई लाग्छ । सिलाइ सिक्ने कुनै अवसर मिल्नुलाई नै उनले न्यायका रूपमा लिएकी रहिछन् एक हिसाबले किनभने यसले उनलाई अलिकित ‘खुसी’ अवश्य दिँदो हो ।
‘सरकारले तालिमहरू दिन्छ भन्छन्, कहाँ दिन्छ थाहा छैन,’ भुइँतिर एकोहोरो हेरिरहेकी उनले मसँगको भेटमा भनेकी थिइन्, ‘बुबा भइदिएको भए मैले उहिल्यै धेरै कुरा जानिसक्थेँ हुँला, सिलाइ पनि सिकिसक्थेँ हुँला ।’ यति भन्दाभन्दै उनी रोक्किइन् । अनि भनिन्, ‘मेरो एक जना माइजू सिलाउन जान्नुहुन्छ, उहाँकै काम हेरेर केही त जानिसकेँ तर तालिम लिएजस्तो हेरेको भरमा नहुँदो रहेछ ।’
हरे, कति सानो सपनाले उनलाई गिजोलिरहेको होला ! ‘रोजगारीको हक’ लेखेँ भनेर फुर्ती गर्दै हिँड्ने संविधानका निर्माताहरूलाई सुनीता भेटाइदिन पाए कस्तो हुन्थ्यो भन्ने भावले मलाई त्यस बेला निकै लपेट्यो । पश्चिम नेपाल यात्राका क्रममा भएका धेरै भेट र मानिसहरू बिस्तारै सम्झनाबाट ओझेल पर्दै गइरहेका छन्, तर सुनीताले ‘सिलाइ सिक्न पाए पनि कति हुन्थ्यो’ भनेको प्रत्येक क्षण मेरो कानमा गुन्जिरहेको छ । त्यस क्षण, मैले आफूसँग भएको पैसाहरू दिएको भए पनि उनको त्यो सपना पूरा हुन्थ्यो । काठमाडौं फर्केपछि मात्रै मलाई यी विचारहरू आए र एक पछुतोले मनलाई कटक्क खायो ।

तीन ट्याबलेट औषधि
राज्यको स्मरणबाट हराइसकेको तर जोरबहादुर खड्काले कहिल्यै बिर्सन नसकेको एउटा घटना छ । उनी तिनताक प्रहरीमा असइ थिए । राष्ट्रबैंकको पैसा लिएर उनले नेतृत्व गरेको प्रहरीको १२ जनाको टोली रुकुम पुग्यो २०५७ को चैतमा । चौकीमा पुगेर हतियार र पैसा बुझाए उनले । त्यति बेला रातको दस बजिसकेको थियो । दिनभरिको भोक मेट्न चौकी छेउकै एक होटलमा पुगेर उनीहरू खान मात्रै के थालेका थिए, चारैतिरबाट गोली बर्सन थाल्यो ।
‘पैसा बोकेर आएको भन्ने माओवादीहरूले थाहा पाएछन्, हामीमाथि आक्रमण गरिहाले, चौकी पनि हाने,’ जोरबहादुर भन्छन्, ‘मेरा साथीहरू भकाभक ढले, मेरो दाहिने गालामा गोली चिप्लिएर गयो, उनीहरूले हतियार र पैसा लुटेर लगे ।’ घटनाको केहीपछि नेपाल प्रहरीले उनलाई माओवादीसँग मिलेको भनेर बर्खास्त गरिदियो । यसका कारण दिइयो– नमिलेको भए अरू मर्दा तँचाहिँ कसरी बाँचिस् ?
जागिर गए पनि ज्यान जोगिएकामा चित्त बुझाएर उनी जन्मथलो दैलेख फर्किए । त्यहाँ उनलाई माओवादीहरूले ‘जागिर छाडेको बहानामा सुराकी गर्न आएको’ भनेर घेर्न आइपुगे । जसोतसो फुत्किएर जोरबहादुर भारत पसे । त्यहाँ अर्काको घर रुँगेर ६ वर्ष बिताए । यस्तोमा मनमा तनाव बढ्नु स्वाभाविकै हो । तनाव बढेपछि रक्तचाप बढ्यो, रक्तचाप उच्च भएपछि पक्षाघात भयो । जीवनको उर्बर समय प्रहरी भएर बिताएका जोरबहादुर पेन्सन पाक्ने बेलामा उही प्रहरीबाट गलहत्याइए । कुटो–कोदालो गरेर शान्तिले बाँकी जीवन बिताउँछु भनेर चित्त बुझाउँदा उनले गाउँमा बस्न त के पाइलो टेक्न पनि पाएनन् ।
पक्षाघात भएर वर्षौं कुँजिँदा, घटना हुँदाकी दूधे छोरी गरिमा ठूली भएर केही पैसाको बन्दोबस्त नगरुन्जेल औषधोपचार समेतबाट विमुख हुन पुगेका जोरबहादुरलाई प्रहरीले अहिलेसम्म औपचारिक रूपमा कुनै अवकाशपत्र दिएको छैन, न जागिर छाडेपछि पाउने कुनै सेवा–सुविधा नै पाएका छन् । न शान्ति मन्त्रालयले उनलाई द्वन्द्वपीडितको सूचीमा राखेको छ, न अरू पीडितहरूले झैं उनले सरकारबाट कुनै राहत र पैसा नै पाएका छन् । उनको घरैमा पुगेर र उनलाई भेटेर उनका कथाहरू सुनेको क्षणमा पनि मलाई सुकरातको ‘न्याय सत्य हो’ र प्लेटोको ‘न्याय खुसी हो’ भन्ने उद्गारले घाँटी अठ्याउन आएजस्तो भयो । उनले यो विपत् भोग्नुपर्नाको सत्य जान्ने र त्यसबापत उनले भोग्नुपर्नाको दुःख सोधन गरेर उनलाई खुसी दिने कुनै संयन्त्र यो देशमा छैन । आफूमाथि भएको अन्यायविरुद्ध अदालतमा जाऊँ र जागिर बहाली गराऊँ भन्ने उनलाई नलागेको होइन, तर औषधि खाने पनि पैसा नभएका उनीसँग मुद्दामामिला गर्ने र वकिललाई पैसा दिने औकात कहाँ छ ? संविधानको मौलिक हकमा ‘प्रत्येक नागरिकलाई न्यायको हक हुनेछ’ भन्ने लेख्दैमा जोरबहादुरहरूमाथि भएको अन्याय कहाँ हट्दो रहेछ र ?
बर्दियाको भुरी गाउँमा अचेल दिनहरू सुस्तरी गुजारिरहेका जोरबहादुर अहिले ५४ वर्षका भए । उनको देब्रे हात चल्दैन । मुख बाङ्गो छ, दाहिने गालामा गोली चिप्लिएर गएको पुच्छ्रे ताराजस्तो लामो दाग छ । बोली प्रस्ट निस्कँदैन । प्रत्येक शब्द उच्चरणमा कष्ट हुन्छ । वर्षौंपछि यसपाला अलिकति साइकल चलाउन सक्ने भएका जोरबहादुरको यो अवस्था पहिलेको भन्दा ज्यादै सुध्रिएको हो । उनकी २३ वर्षीया छोरी गरिमाले ऋण गरेर, सिमलामा स्याउ टिप्न गई केही पैसा कमाएर र पढ्ने–लेख्ने आफ्नो सारा अवसरलाई थाँती राखेर गरेको औषधोपचारले जोरबहादुर यति तंग्रिने भएका हुन् । गएको वर्ष उनले जोरबहादुरलाई काठमाडौं लगिन्, डाक्टर सुशीला वैद्यले नियमित रूपमा लेजर थेरापीहरू गराउन सके ठीक हुने कुरो गरिन् । नभन्दै जोरबहादुर केही तंग्रिए, वर्षौंदेखि चलमलाउन नसकेका उनका हातगोडा चलमलाए ।
‘भएको ७०–८० हजार एकपटकमै सकियो,’ गरिमा भन्छिन्, ‘तीन–तीन महिनामा काठमाडौं ल्याउनु भन्थे, लैजान सकिएको छैन ।’
डाक्टरले नसा तंग्रिने औषधि दिनको तीन ट्याबलेट खानु भनेर लेखिदिएका छन् । ‘यसको ५ सय रुपैयाँ पर्छ, दिनमा त्यति तिर्न सक्दैनौं हामी,’ जोरबहादुरका आँखा पिलपिलाए, ‘त्यसैले दिनको एक ट्याबलेटमै काम चलाइरहेका छौं ।’ यति भनिसक्दानसक्दै चुपचापसँग झरेका उनका आँसुले मानौं प्रश्न गरिरहेका छन्— के राज्य यति गरिब छ कि एउटा बिरामीको तीन ट्याबलेट औषधि पनि
किनिदिन सक्दैन ?

अन्त्यहीन पर्खाइ
राजकुमारी ओलीको काखमा सानी छोरी छिन् । तर उनले स्याहार हरदिन बिरामी आमा सुशीलाको गरिरहनुपरेको छ । उनको घर जाजरकोटमा छ र माइती सुर्खेतमा । बिरामी आमालाई रुँगेर माइतै बसिरहेकी उनलाई घरबाट तारन्तार खबर आइरहन्छ, कहिले फर्किेने भनेर । घर घर गर्नु कि आमालाई स्याहार्नु ? राजकुमारीसँग उत्तर छैन, मात्र आँसु छ जतिखेर पनि चुहिरहने ।
उनकी आमा बोल्न सक्दिनन्, पक्षाघात भएकाले हिँडडुल गर्न सक्दिनन्, तर रुन सक्छिन्, आँसु झारिरहन सक्छिन् । उनको साथमा राजकुमारीकी दिदी दीपाको तस्बिर सधैं हुन्छ, त्यसलाई काखमा राखेर टोलाई बस्नु र बेलाबेलामा छाती चिरिने गरी डाँको छाडेर रुनु सुशीलाको दैनिकी बनेको धेरै भइसक्यो ।
कुनै समय गाउँभरिकी फुर्तिली सुशीला आज यस्तो किन भइन् ? कुरा खोतल्दै गयो भयो न्यायमा लागेको उही घाउको ओस्सिने गन्ध आउँछ । संकटकालको बेला थियो । कक्षा ६ मा पढ्दै गरेकी उनकी छोरी दीपा र अरू पनि विद्यार्थीलाई माओवादीले स्कुलमै आएर लगेछन् २०५८ मा । छोरी माओवादीले लगेदेखि नै सुशीलाको नसनाडी गल्न थालिसेको थियो, उनका श्रीमान्को अनुहारको कान्ति हराइसकेको थियो र घरमा दुःखले बास गरिरकेको थियो । रामघाटस्थित छिन्चु ब्यारेकका सेनाले २०६० साउन २३ गते दीपालाई पक्राउ गरेछन् । त्यसयता उनी मरे–बाँचेको पत्तो छैन । यही पीरले राजकुमारीका बाबु बिते, आमालाई पक्षाघात भयो र उनको पढाइ छुट्यो । ‘दिदीलाई त्यस्तो भएपछि आमाले चुरोट खान थाल्नुभयो’ राजकुमारी भन्छिन्, ‘त्यही पीरले त होला, प्यारालाइसिसले समात्यो, अहिले उहाँलाई खुवाउनेदेखि दिसापिसाब गराइदिनेसम्मको काम गर्नुपर्छ, हाम्रो त जीवनै तहसनहस भयो ।’

गरिमाले बाबुलाई काठमाडौं लगेझैं गएको वर्ष राजकुमारीले पनि सकीनसकी आमालाई उपचार गर्न भनी राजधानी लगेकी थिइन् । नसाका डाक्टरहरूले उपचार हुन्छ भनेका पनि थिए । तर, यो विरानो काठमाडौंमा उनका लागि न कुनै साथ थियो न पैसा नै । राजकुमारीको सपनामा बरोबरजसो बेपत्ता दिदी मुस्कुराउँदै आइपुग्छिन् । कक्षा आठमा पढ्दा स्कुलले लगेको पिकनिकबाट फर्कने बेलामा उनले जंगलमा दीपालाई देखेकी थिइन्, एक लोग्नेमान्छेका साथ । सायद ऊ, माओवादी लडाकु थियो ।
‘दिदी, घर जाऊँ हिँड,’ उनी खुसीले चिच्याउँदै दीपालाई अँगाल्न पुगेकी थिइन् । ‘तर त्यो मान्छेले मलाई लडाइदियो, दिदी एकदम डराइरहेकी थिइन्,’ राजकुमारी भन्छिन्, ‘त्यसपछि म बेहोस भएछु, सरहरूले घरमा ल्याएर छाडिदिएछन् ।’अहिले उनलाई लाग्छ, त्यस बेला त्यो मानिससँग पौंठेजोरी खेल्ने ताकत भइदिएको भए वा सरहरूले उससँग जुध्ने सामर्थ्य देखाइदिएका भए राजकुमारी आफ्नी दिदीलाई घर लिएर जान सक्थिन् । त्यो हुन पाएको भए उनका बाबुले शोकैले चोला बदल्नुपर्ने थिएन, आमाको यो हालत हुन्नथ्यो । अनि, राजकुमारीले पढ्न पाउँथिन् र जीवनका हजार सपनाहरूलाई अनुभव गर्ने अवसरहरूलाई समात्न सक्थिन् ।
तर, यस्तो केही हुन पाएन उनको जीवनमा । उनीहरूलाई कहिल्यै आवश्यकै नपरेको युद्ध दीपाले लड्नुपर्‍यो । सेनाको ब्यारेकमा नजाने कस्तो कष्टहरूबाट दीपा गुज्रिन होला ? कहाँ होलिन् उनी ? निर्दयीहरूले मारे होलान् कि अझै कुनै काल कोठरीमा थुनेर राखिरहेका होलान् ? यस्तो प्रश्न उनकी आमाले मात्रै होइन, राजकुमारीले पनि गर्न थालेको धेरै भइसक्यो । एकपटक, सेनाको कब्जामा परेका बेला राजकुमारी र उनका बाबुको नाममा दीपाले कसैगरी एक पत्र पठाएकी रहिछन्, जसमा लेखिएको थियो, ‘म बाघको मुखमा छु, कृपया बचाउनुस् ।’नभन्दै उनी बाघकै मुखमा भएजस्तो ठहरियो जहाँबाट दीपा फर्केर आएकी छैनन् ।
‘दिदी साउनमा पक्राउ परेकी थिई,’ राजकुमारी भन्छिन्, ‘कात्तिकसम्म हामीले लगेको खाना सेनाले बुझ्थ्यो र दिदीलाई दिएँ भन्थ्यो, त्यसपछि त पर्दैन खाना ल्याउन भनेर हप्काएर फर्काइदिन थाल्यो ।’ उनलाई शंका लाग्छ, कतै त्यही समय दीपको ज्यान उनीहरूले लिए कि ! अनि उनलाई कताकता फेरि एउटा आशाले पनि डोर्‍याउँछ, हैन दिदी हाँस्दै अहिल्यै घरभित्र छिरी पो हाल्छे कि ! यस्ता दोधारमा दिव्य १६ वर्ष बिते राजकुमारी र उनको परिवारको । न दिदी नै फर्केर आइन्, न आमा नै सद्दे रहिन् । मृत्यु शय्यामा पल्टेका भीष्म पिताहजस्तै अतिशय वेदनामा छटपटाइरहेकी आमालाई छाडेर एक घण्टा पनि उनी बाहिर निस्कन मिल्ने अवस्था छैन । यो अन्त्यहीनको पर्खाइ कहिलेसम्म ? यो विलखबन्दको जिन्दगी कहिलेसम्म ? यो मुफ्तको अन्याय कहिलेसम्म ?

गुफायुगदेखि ‘न्याय’ र ‘खुसी’ को खोजीमा मानवीय सभ्यताले यहाँसम्मको यात्रा तय गर्दा धेरै युद्ध, हिंसाका दुश्चक्रहरू र अन्यायका असंख्य शृंखला बेहोरेको छ । हरेक समाजका दुःखका आफ्ना कथाहरू छन् र भविष्यका आफ्ना सुनौला योजना । शासक वर्गको एउटा तप्काले मात्रै राज्यको सबै ऐश्वर्यको भोग गर्दै आएको हाम्रो समाजमा सामाजिक न्याय मात्र एक शब्द थियो । ‘सत्य’ र ‘खुसी’ मात्र शासक वर्गको विशेषाधिकार थिए । यस्तैयस्तै निष्कर्ष निकालेर र शोषणमा परेका, हेपिएका र दबिएका लाखौंलाख मानिसका लागि न्याय ल्याउन भनेर पुष्पकमल दाहाल उर्फ प्रचण्डको नेतृत्वमा त्यति बेलाको माओवादीले २०५२ मा सुरु गरेको दसवर्षे सशस्त्र युद्धले सुनीता, जोरबहादुर र राजकुमारीजस्ता हजारौंहजार मानिसलाई कहिल्यै नबिर्सिने गरी चोटहरू दिएर गयो । सत्र हजारको ज्यान गयो, ३ हजार जति बेपत्ता भए, ६० हजार घाइते अनि ८० हजार विस्थापित ।
अंकमा भन्दा एक वाक्यमा सकिने यो द्वन्द्वको फेहरिस्तमा एक–एक मानिसका आँसु र छटपटाहट लुकेको छ । तर, कहिल्यै केही पनि भएकै थिएन जसरी दलहरू अघि बढिरहेका छन्, सरकारलाई यसबारे खास चासो नभएजस्तो देखिन्छ । दोषीलाई सजाय मात्रै होइन न्याय भनेको, पीडितका चहराइरहेका घाउमा भरथेगको मल्हम लगाउनु पनि हो न्याय । सुनीताहरूलाई बाबु बेपत्ता बनाउनेलाई सजाय मागेका छैनन्, जीवन गुजारा गर्ने मेलोका लागि सिलाइको तालिम खोजेका छन् । जोरबहादुरहरूले औषधि चाहेका छन् र राजकुमारीहरूले रोजीरोटीको मेलो अनि आमाको उपचार । सत्य निरुपण तथा मेलमिलाप अनि बेपत्ता छानबिन आयोगको कन्तविजोग गराएर, पीडितहरूलाई सर्वथा बेवास्ता गरेरर र समाजको विभेदमा कुनै सुधार नल्याएर नेतागण खाली आफ्नो स्वार्थ र सुखको खातिर कुदिरहेको देख्दा सुकरातको ‘सत्य’ र फ्लेटोको ‘खुसी’ दुवैले सामूहिक आत्महत्या गरेजस्तो लाग्छ यो देशमा ।

सुनीता

 

जोरबाहादुर


[email protected]

Page 18
कोसेली

खुम्बु फुटनोट्स

सगरमाथा आधार शिविर पुग्नुअगाडि मलाई लाग्थ्यो, आधार शिविरबाट सर्लक्कै सगरमाथा देखिन्छ ।होइन रैछ । सगरमाथा आधार शिविरबाट त जम्मा खुम्बु आइसफल मात्रै देखिने रैछ ।
- विराट अनुपम

विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न साहस भएर मात्रै पुग्दैन । पैसा पनि हुनुपर्छ । आधा करोड लाग्ने सगरमाथा आरोहणभन्दा आधा लाखमा सकिने आधार शिविर यात्रामा जानु मेरो एक्लो विकल्प बन्यो । लोन्ली प्लानेटदेखि नेसनल ज्योग्राफिकसम्मले विश्वका घुम्नैपर्ने गन्तव्यमा खुम्बु अर्थात् सगरमाथा क्षेत्रलाई राखेपछि मेरो उत्साहलाई थप ऊर्जा मिल्यो । धेरैअगाडिदेखि सोच बनाए पनि यो दसैंपछि मात्रै मित्र र मुद्रा दुवै व्यवस्थापन भएर यात्रा जुर्‍यो ।
विश्वको सबैभन्दा जोखिमपूर्ण विमानस्थल लुक्लाको अवलोकन, सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको पहिलो रास्ट्रिय निकुञ्जको यात्रा र ८ हजार ८ सय ४८ मिटर अग्लो शिखरको पाउ अर्थात् आधार शिविर अवलोकन अनि कालापत्थर पाहाड आरोहणजस्ता कुरा कल्पिँदा मात्रै खुम्बु यात्रा रोचक बन्यो । कल्पनालाई यथार्थ बनाउन इटहरीबाट हामी पाँच भाइ १५ दिने यात्राका लागी कात्तिक २५ मा निस्कियौँ ।

प्रदेश ट्रेकिङमा नआएको ‘संघीयता’
खुम्बु क्षेत्र प्रदेश १ मा पर्छ । तर, प्रदेश १ कै हिमाल पुग्न हामी प्रदेशवासीहरू सबैभन्दा पहिले काठमाडौं जानुपर्छ । ट्रेकिङका सामानहरू प्रदेश १ मा उपलब्ध नभएकाले हामी काठमाडौं पुग्यौं । इटहरीबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरी, त्यहाँबाट २ दिन लुक्ला अनि ७ दिनमा आधार शिविर पुगिने भए पनि सामान किन्न नपाइएकाले काठमाडौंकै रुट अनिवार्य बन्यो । सामानजस्तै विमानका लागि पनि प्रदेश १ बाहिरै पुग्नुपर्छ । प्रदेश १ मा विराटनगर र भद्रपुरजस्ता सुविधासम्पन्न विमानस्थलहरू छन् । लुक्ला उडान भने प्रदेश ३ स्थित रामेछापको मन्थलीबाट हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक चाप भएकाले मन्थलीबाट मात्रै उडान गरिएको मन्थली विमानस्थल प्रमुख अमित चौरासियाले सुनाए ।
प्रदेश १ का हिमाल पुग्न आवश्यक सामग्री बेच्न नसक्ने प्रदेश १ का पर्यटन व्यवसायी र उडान गर्न नसक्ने विमान कम्पनी अनि सरकारलाई व्यंग्य गरेसँगै यात्राका साथी तथा नेकपा सुनसरी नेता सागर सुवेदीले भने, ‘ट्रेकिङ क्षेत्रमा सरकार र व्यवसायीहरूले अझै संघीयता ल्याएका रैनछन् ।’
ट्रेकिङको केन्द्रीयताले प्रदेश १ वासीलाई मात्रै हैन, सीमावर्ती भारतीयहरूलाई पनि समस्यामा पारेको रैछ । नाम्चे बजारदेखि दुई स्टेसनमाथि रहेको देबुचेमा भेटिएका पश्चिम बंगालका स्थानीय सौरभ चक्रवर्तीले सल्लेरीबाटै पैदल आएको बताए । उनी कलकत्ताबाट रक्सौल पुगे । रक्सौलबाट काठमाडौं । र, काठमाडौंबाट सल्लेरी । कलकत्ताबाट सिलिगुढी अनि इटहरी हुँदै तीन दिनमा आउन सकिने सल्लेरी उनी पाँच दिनमा मात्रै पुगे । भारतीय सेनामा १२ वर्षदेखि कार्यरत बताएका उनले आफूले ट्रेकिङ कम्पनीको सूचना हेरेर आएको बताए । पश्चिम बंगालसँगै जोडिएको नेपालको प्रदेश १ कै उत्तरी जिल्लामा खुम्बु भएको भन्दा उनी चकित भए । किनमेल र विमानस्थलमा मात्रै हैन काठमाडौंका ट्रेकिङ कम्पनीको कारणले सूचनामा पनि खुम्बु क्षेत्रमा संघीयता नआएर ट्रेकरहरू हैरान रैछन् ।

हिमाल छुन पुग्ने दुर्लभ नेपाली ट्रेकर
२८ गते बिहान साढे एघार बजे लुक्ला ओर्लेर खानपानपछि अगाडि बढ्दै गर्दा नेपाली सुरक्षाकर्मीले रोकेर मुस्कुराउँदै सोधे, ‘इस्क्युज मी सर । चेकिङ ।’ ‘नेपालीलाई पनि चेकिङ हुन्छ र’ भन्दा उनले मुस्कुराएरै भने, ‘ओहो सरी सर । म त विदेशीजस्तै लागेर ।’ लुक्लामा मात्रै हैन अन्य केही स्थानमा पनि होटल व्यवसायीदेखि भरियाहरूसम्मले विदेशी सम्झेर अंग्रेजीमै कुरा गरे । ट्रेकरको हुलियामा पुगेका गहुँगोरो अग्ला आर्यन अनुहारलाई इजरायली, श्याम वर्णलाई भारतीय र अग्लो मंगोलियन अनुहारलाई जापानिज र कोरियनजस्तो ठान्ने स्थानीय गाइड बालकुमार तामाङले बताए । तामाङका अनुसार नेपालीहरू अत्यन्तै कम आउनाले यस्तो भएको हो । तामाङको तर्कलाई सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकले नै पुष्टि गर्छ । आर्थिक वर्ष २०७५/७६ मा ५८ हजार ३० जना विदेशी पर्यटक खुम्बु क्षेत्रमा आउँदा जम्मा ७ सय ४१ जना मात्रै नेपाली आएको निकुञ्जका कर्मचारी केदार कट्टेलले जानकारी दिए । एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले विसं २०१० जेठ १६ मा सगरमाथा चढेको ६६ वर्ष कटिसक्दा पनि हजारभन्दा कम नेपाली मात्रै एक वर्षमा यो क्षेत्रमा आउँदा रैछन् ।
३ हजार ८ सय ८० मिटर उचाइमा खुम्बु क्षेत्रमा रहेको विश्वको सबैभन्दा अग्लो स्थानको होटल एभरेस्ट भ्युका म्यानेजर आङनुरु शेर्पा नेपालीहरूले नेपाली हिमाल र सगरमाथाको महत्त्व नबुझेर कम आएको बताउछन् । १४० देखि १९० डलरमा बिक्री हुने आफ्नो होटलका १२ कोठा बुक गर्न आउने सबैजसो विदेशी भएको उक्त होटलमा तीस वर्षदेखि सक्रिय शेर्पाले बताए । उनले भने, ‘नेपालीहरू विदेशमा पुगेर मात्रै सगरमाथा र हिमालको महत्त्व बुझ्छन् ।’ शेर्पाको कुरामा सहमत भए इटहरीबाट हामीसँगै खुम्बु क्षेत्र हिँडेका ड्राइभिङ स्कुल सञ्चालक बाबुराम प्रधान । उनले हाँस्दै भने, ‘सिंगापुरमा सगरमाथा पुगेको छैन भन्दा विदेशीले खिसी गरेको देखेरै मैले यहाँ आउन त्यही बेला योजना बनाएको हुँ ।’ अर्का सहभागी सन्तोष निरौलाले पनि थाइल्यान्ड पुगेपछि मात्रै सगरमाथाको महत्त्व बुझेको स्विकारे ।

एनिभर्सरी, डेटिङ र सरसफाइ
नेपाली कम पुगेपछि खुम्बुमा विदेशीहरू भने अत्यधिक जाने पाइयो । ८ वर्षका बालकदेखि ७७ वर्षीय वृद्धसम्म खुम्बु यात्रामा भेटिए । एक जना त ह्विलचेयरमा समेत लुक्ला पुगेकी थिइन् । उनलाई आफ्ना सहयोगीले हिँडाइरहेका थिए । उनी घोडा चढेर बेसक्याम्पसम्म जाने बताउँदै थिइन् । आधार शिविर पुग्न काठमाडौंबाट चार्टर गरिएका हेलिकप्टरदेखि लुक्लाबाट पाइने घोडासम्म उपलब्ध रैछन् । यही सुविधा लिएर शारीरिक अशक्तता भएकाहरूसमेत आधार शिविर पुग्दा रहेछन् । ३ हजार हाराहारी डलरको हेलिकप्टर चार्टर गरेर एकैछिनमा सगरमाथा आधार शिविर पुगेर आउनुभन्दा लुक्ला ओर्लेर प्रतिक्याम्प यात्राको १ सय डलरमा पाइने घोडामा आधार शिविर जानेहरू पनि पाइए ।
लुक्लाबाट आधार शिविर र आउन्जेलका १३ दिने यात्रामा गफिएका दर्जनौँ पर्यटकले फरकफरक कारणले खुम्बु ट्रेकिङ आएको बताए । आधार शिविरमा भेटिएका भारत उत्तर प्रदेशका २९ वर्षीय प्रदेश सांसद (एमएलए) प्रतीक भूषण सिंहले आफू महात्मा गान्धीको १५० औ जयन्ती मनाउने क्रममा आएको बताए । जेनेभाका ६३ वर्षीय मार्कले आफ्नो तौल घटाउन आएको बताए । केही फ्रान्सेली जोडीहरूले भने आफ्नो विवाह एनिभर्सरी मनाउन र डेटिङ गर्न आएको समेत खुलेर बताए । स्याङ्बोचेमा भेटिएका बेलायतका नागरिक तथा सगरमाथा नेक्स्ट कार्यक्रमका टोमी र आधार शिविरमा भेटिएका बेलायतकै जे बोथ आफूहरू सगरमाथा क्षेत्रको सफाइमा काम गर्न आएको बताए ।

खुम्बु मेन्युमा प्रोफेसनल शेर्पा, लिबरल गैरशेर्पा
१४ दिने सगरमाथा आधार शिविर यात्राको योजनाताका मलाई लाग्थ्यो, नाम्चेमाथि कुनै बजार छैन । टेन्ट, स्लिपिङ ब्यागदेखि सातुसामल सबै बोक्नुपर्छ । यस्तो होइन रहेछ । सगरमाथाको तीन घण्टा वरसम्म बजार रैछ । लुक्लादेखि सात क्याम्प यात्रामा पुगिने बेसक्याम्पसम्मका हरेक क्याम्पमा पसल र टी सप रैछन् । २८५० मिटर उचाइको लुक्लादेखि ५१९० मिटरको गोरक्षेपसम्मका सात क्याम्पमा जत्ति उकालो लग्यो, मेन्युको रेट पनि उत्ति उकालो लाग्ने । बेसक्याम्प नजिकैको बजारसम्म उपलब्ध हुने इन्टरनेटको रेट पनि उचाइअनुसार उकालो लाग्ने ।
मुख्यगरी शेर्पाहरूका टी सप र लजहरू पाइने यी क्षेत्रमा राई, तामाङ, मगर आदि समुदायले पनि टी सप सञ्चालक गरेका छन् । उनीहरूको लगभग एकै खाले मेन्यु रहेको छ । सामान्यतया खानाको ६ सयदेखि एक हजारसम्म र चियाको तीन सयदेखि पाँच सयसम्मको मेन्यु रेट देखिन्छ । यो रेटमा डिस्काउन्ट माग्दा शेर्पा साहुजीहरूले असहज माने । हाम्रा सहयात्री सुरेश कार्कीले सगरमाथादेखि दुई स्टेसनमुनिको लोबुचेको एक टी सपमा डिस्काउन्ट हुन्न भन्ने प्रश्न गर्दा उनले प्रतिप्रश्न गरे, ‘काठमाडौंको रेस्टुरेन्टमा गएर तपाईं डिस्काउन्ट माग्नुहुन्छ ?’
आफ्नो मेन्युमा क्लियर र प्रोफेसनल देखिएका शेर्पा व्यवसायीहरूभन्दा अलिक लिबरल लागे अन्य समुदायका व्यवसायी । उनीहरूले नेपाली भनेर मेन्यु रेटमा आधा नै छुट दिए । ५ हजार ५० मिटर उचाइमा अवस्थित संसारको सबैभन्दा अग्लो स्थानको पिरामिट रिसर्च सेन्टरले सञ्चालन गरेको लजका म्यानेजर काजी विष्टले त नेपालीहरू भनेर हाम्रो समूहबाट कुनै पैसा लिएनन् । हामीलाई मात्रै हैन विष्टले भरियाहरूलाई माया गरेर कतिपयलाई निःशुल्क खाना र बस्न दिँदा रहेछन् ।
तीन दिन बास र गाँसको पैसा लिनै मानेनन् विष्टले । दिनैपरे आफ्ना मिहिनेती किचन स्टाफहरूलाई टिप्स दिन आग्रह गर्दै उनले भने, ‘मलाई विदेशीको टिप्स नै ६० हजारसम्म आउँछ । नेपाली दाजुभाइहरूलाई किन पैसा लिनु ?’

तेङ्बोचे :जहाँबाट सुरु हुन्छ हिमालयन उपत्यका
लुक्ला ओर्लनासाथ हिमाली क्षेत्र महसुुस हुने यात्राले ३८ सय ६० मिटरमाथिको तेङ्बोचे पुगेपछि आकर्षक मोड लियो । निकै पर देखिने हिमाल आँखैअगाडि देखिन्छ । एकातिर मात्रै हैन चारैतिर हिमालै हिमाल । अगाडि दगुर्दै झ्याम्म हिमालमा उक्लिन सकिन्छजस्तै गरी आमादब्लम उभिन्छ । थामसेर्कु, ल्होत्से, नुप्से र सगरमाथाको झल्को पनि तेङ्बोचेले दिन्छ । पहिलोपटक हिमाल अगाडि उभिएको अनुभव दिने तेङ्बोचे धार्मिक तथा सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण छ । हिमालयन भव्य दृश्यलाई सन् १९२३ मा बनेको तेङ्बोचे गुम्बाले अर्को भव्यता दिन्छ ।

कालापत्थर :सगरमाथा हेर्ने प्राकृतिक भ्यु टावर
सगरमाथा आधार शिविर पुग्नुअगाडि मलाई लाग्थ्यो, आधार शिविरबाट सर्लक्कै सगरमाथा देखिन्छ । होइन रैछ । सगरमाथा आधार शिविरबाट त जम्मा खुम्बु आइसफल मात्रै देखिने रैछ । ५३६४ मिटर उचाइमा रहेको आधार शिविरबाट नदेखिने दृश्यको प्यास मेटाउनै उभिएको जस्तै छ कालापत्थर । ५५४५ मिटर उचाइमा आधार शिविरभन्दा अग्लो कालापत्थरबाट ल्होत्से र नुप्से आसपास राखेर उभिएको विश्वको सर्वोच्च शिखर सगरमाथा आँखैअगाडि देखिन्छ । सगरमाथा पुग्नुअगाडिको गोरक्षेप बजारबाट उकालो साढे दुई घण्टामा पुगिने कालापत्थरको चुचुरो गोरक्षेपबाटै तीन घण्टा तेर्सो हिँडेर पुगिने आधार शिविरको भन्दा भिन्न छ ।
कालापत्थरभन्दा १ सय ८१ मिटर होचो आधार शिविरमा निरन्तर हिउँ पर्छ र हिउँका ढिक्का अत्यन्तै देखिन्छ । कालापत्थरमा हिउँका ढिक्का देखिन्न । सगरमाथाभन्दा ३३०३ मिटर मात्रै होचो कालापत्थरमा कालापहाड खुम्बु क्षेत्रको भीआईपी भेन्यु हो । यही स्थानमा २०६६ मंसिर १९ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रिपरिषद्को बैठक गराएर जलवायु परिवर्तनको असरबारेमा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

आधार शिविर, भोक हड्ताल र रोमान्टिक ढुंगाहरू
सगरमाथा आधार शिविर पुगेपछि सबैभन्दा धेरै दुविधा आधार शिविरकै उचाइमा हुन्छ । आधार शिविरका दुई ढुंगामा दुईखाले उचाइ लेखिएको थियो । एउटामा ५ हजार ३ सय ६४ मिटर, अर्कोमा ५ हजार ३ सय ६५ मिटर । यत्ति मात्रै हैन आधार शिविरमा सरसफाइ गर्न आएका बताउने बेलायती नागरिक जे बोथले ५३४५ मिटर मात्रै भएको बताउँदै थिए ।खुम्बु क्षेत्रको सुन्दरता महसुस गर्ने र प्रदेश १ का आझेलमा परेका साहसिक पर्यटकीय गन्तव्यको प्रचार गर्ने हाम्रा दुई मिसन पूरा भए । आधार शिविरमा २४ घण्टा भोक हड्ताल गरेर वातावरणीय न्यायको माग गर्ने मिसन भने समूह सदस्य बाबुराम प्रधानलाई लेक लागेर समस्यामा पर्‍यो । आधार शिविर पुग्न लाग्दा अत्यन्तै धेरै लेकको समस्याले उनले लोबुचेबाट हेलिकप्टर चार्टर गरेर लुक्ला आउनुपर्‍यो । थोरै उचाइको तराईबाट आएका सदस्यहरूको अक्सिजन लेभल कम हुँदै गयो । सामान्यतया ‘पल्स अक्सिमिटर’ ले नाप्दा ७५ प्रतिशत अक्सिजन हुनुपर्नेमा धेरै सकसले मात्रै त्यो लेभल पुगेपछि अर्को समस्या थपियो । त्यसमाथि हिउँ पर्‍यो । मौसमदेखि स्वास्थ्य जटिलताले हाम्रो भोक हड्ताल स्थगितको अवस्थामा आयो । स्थगनभन्दा सकेको गरौँ भनेर हामीले चार घण्टाको मात्रै कार्यक्रम राख्यौँ । २४ घण्टा र पाँच सदस्य कार्यक्रममा लेक लागेर अनुपस्थित एक सदस्यको नाम ब्यानरमा छोपियो । २४ घण्टामा २ छोपेर ४ मात्रै देखाएर हाम्रो कार्यक्रम चल्यो ।
सगरमाथा आधार शिविरको अर्को रोचक पक्षचैं आधार शिविरका हिउँका ढिस्काले थामिएर उभिएका रोमान्टिक ढुंगाहरू । त्यी ढुंगाहरूमा ट्रेकरहरूदेखि आरोहीसम्मले आफ्ना प्रेमिल सन्देशहरू लेखेका पाइए । नेपाली, अंग्रेजी, हिब्रु, स्पेनिसदेखि फ्रान्सेली हुँदै रसियन तथा चिनियाँ अक्षरमा मायालु सन्देशहरू लेखिएका ढुंगा बेसक्याम्पभरि भेटिए । यी रोमान्टिक ढुंगाहरू देखेर उत्साहित बने हाम्रो समूहका सदस्य सुरेश कार्की । विगत तीन दिनदेखि झर्किंदै श्रीमतीको फोन रिसिभ नगरिरहेका उनले एकाएक एक गोरा पर्यटकसँग कालो मार्कर मागे । र, आफ्नी श्रीमतीको नाममा अंग्रेजी सन्देश लेखे, ‘आई लभ यु विनिता । योर सुरेश ।’

कोसेली

प्रभु ! यत्ति भए त...

- लेखनाथ भण्डारी

घाँटीमा
एउटा–दुईटा दुपट्टा
छातीमा
एउटा–दुइटा तक्मा
भित्तामा
एउटा–दुइटा अभिनन्दन र प्रशंसापत्र
दोबाटोमा
एउटा–दुइटा सालिक र शिलापत्र
प्रभु !
यत्ति पनि नभए त जिन्दगी
व्यर्थै हुने भयो ?

प्रभु !
चाहिंँदैन बाँकी अरु कुनै वरदान
यति भए त
जीवन सार्थक हुनेथियो
शान्तिले सास जानेथियो ।

प्रभु !
यति भए त हुनेथियो
कुनै कीर्ति नै नरहे
फुर्ती पनि केही नरहने भयो ।

घाँटीमा...
छातीमा...
भित्तामा...
र, दोबाटोमा पनि...
त्यतिचैं भए त
जीवन सार्थक हुने थियो
शान्तिले सास जाने थियो ।

प्रभु !यति भए त
जोरी–पारीको हाँसो पनि जाने थियो
श्रीमती र छोराछोरीको हाँसो छरिने थियो ।

हो प्रभुजी !
यति भए त
जीवन सार्थक हुने थियो
शान्तिले सास जाने थियो ।

Page 19
कोसेली

तेमाल कोर्वा

- फूलमान वल

झ्याउँकिरीले गाउन थालेपछि मैले साइकलको ब्रेक दबाएँ । हरिया रूखमा चराहरू नाच्न थाले । म झिकु खोला किनारको मनोरम बोटानिकल पार्कमा थिएँ । एक छिन खुब रन्थनिएँ । सहरबाट गाउँ हिँडेको– कहाँ आइपुगें म ?
बोहोरे दोभान उही थियो तर पानीघट्ट थिएन । पलाञ्चोक र तेमाल जोड्ने लोभलाग्दो पक्की पुल बनिसकेछ । यही झिकु खोलामा थुप्रैपटक सेलो गाउँदै दुवाली फर्काएको हुँ, सानो छँदा । खिर्रोको स्याउला कुटेर माछा मारेको पनि थिएँ । पौडी खेल्दा पानी छ्याप्दै जिस्किन आउने पलाञ्चोके आस्याङका छोरी पम्फा र रामशलीहरूको रातो रिबन... ।
अहो, झिकु खोलामा त एउटा सिंगै युग बगेर गएछ !
क्षितिजमा उदाउँदै गरेको जूनको गर्भिनी उज्यालोमा हामी प्रेमगीत गाउँथ्यौं यहाँ । घट्टको एकतमास लय, गंगटा र गोलभेंडाको अचार अनि ढिँडोको आदिम स्वाद । आहा !
एकाएक विस्मृतिको दोधारे विन्दुमा उभिन पुगें । आश्चर्य ! घडी र पलाहरूको यो कस्तो विस्मयकारी टाइमल्याप्स । पत्तै नदिई कसरी बिलाइगएछ समय ?
फेरि झ्याउँकिरीहरूले गीत गाए ।
म पाइडल घुमाउँदै अघि बढें । अघिल्तिर कालापत्रे सडकले रोमाञ्चककारी अँगालो फैलायो । अचम्म ! कुनै समय मैले पसिना चुहाउँदै घाँसको भारी बोकी हिँड्ने दुःखको दुरूह गोरेटो यहीँनेर थियो । अहिले सफाचट टुरिस्टबस दौडिरहेछन् । आश्चर्यको तुमुल तुवाँलो उठ्यो मनभित्र । पुल नटुंगिँदै पारिपट्टि ठूलो होर्डिङबोर्डमा ‘तेमाल कोर्वा (पदयात्रा)’ को नक्सा कोरिएको थियो । कस्तो विरोधाभास– आफ्नै गाउँ जान आज म नक्सा हेर्दै छु !
पक्कै मलाई डिमेन्सिया भएको हुनुपर्छ ।

सहरमा हराएको पनि ठ्याक्कै पच्चीस बर्ष भएछ । एक दशक जति त कोमामै बिताएँ हुँला । कोमाबाट ब्युँझिँदा देशमा जनयुद्ध र लोकतान्त्रिक आन्दोलन टुंगेर गणतन्त्र आइसकेको थियो ।
थाहा छैन– तिनताक के भएको थियो, मैले फेरि कोमामा जानुपर्‍यो । त्यो एक प्रकारले हाइबरनेसन थियो सायद । दोस्रोपटक ब्युँझिँदा देशले नयाँ संविधान पाइसकेको थियो । प्रदेशहरू निर्माण भइसकेका थिए ।
‘तपाईंका लागि पहाडी यात्रा निकै उत्तम हुनेछ,’ डाक्टर आत्माले एक दिन मलाई प्रेमपूर्वक सुझाइन् ‘त्यहाँका नागबेली बाटामा अक्सिजनको प्रेमिल नदी बगिरहेको भेटाउनुहुनेछ । यो सहर तपाईंको स्वास्थ्यका लागि हानिकारक छ ।’
त्यसपछि उनैले प्रेमपूर्वक साइकल उपहार दिएर गइन् । गइन् किनभने त्यसयता उनी कहिल्यै फर्केर आइनन् । मैलेचाहिँ आफूलाई अलिक ब्युँझिएको महसुस गरें । मनको भित्री कुनामा भने कुनै स्वैरकाल्पिक उपन्यासको पात्र हुँ कि भन्ने दिग्भ्रम कायमै रह्यो ।
यही दिग्भ्रमकै बीच साइकलको पाइडल खिचेको हुँ– काभ्रेको तेमाल गाउँतिर । तामाङ सभ्यताको यो उद्गमथलोमा पक्कै पनि मेरो बाल्यकालका यादहरू छरिबसेका होलान् । म त्यही यादहरूको बिस्कुन टिप्न हिँडेको हुँ ।

िहोर्डिङबोर्ड नाघ्नेबित्तिकै पारिपट्टिबाट ढ्याङग्रो र डम्फुको लयदार आवाज आयो । अलिक पर दुई भव्य गेट देखें । बौद्ध र बोन वास्तुकला मिश्रित एन्टिक शैलीको प्रवेशद्वार । सबैभन्दा माथि डम्फु, त्यसपछि ढ्याङ्ग्रोको क्लासिक डिजाइन । बीचको काठमा कुँदिएको थियो– ‘तेमाल कोर्वा’ । ढुंगा बिछ्याइएको सफा र फराकिलो चोकमा मानिसहरू एकतमास किन झुम्मिरहेका छन् ?
मैले फेरि सानदार ब्रेक दबाएँ ।
‘तेमाल कोर्वामा स्वागत छ है !’,
तामाङ मौलिक परिधानमा सजिएकी एक युवती अघिल्तिर उभिन आइपुगिन्– ‘फ्याफुल्ला !’
गाउँ आउने पयर्टकको स्वागतमा ढ्याङ्ग्रो र डम्फु बजाउँदै मान्छेहरू नाँच्दै रहेछन् । म पनि पर्यटकसँगै मिसिएँ । कुलाकी र गोइलो लाएका मूल ताम्बाले सगुनस्वरूप रक्सीमा टोटलाको फूल चोबल्दै भुइँ, आकाश र चार दिशा छर्के । युवतीको एउटा समूह सगुन बाँड्न थाल्यो ।
‘ल्हास्सो ऽऽऽ...’
परबाट युवतीहरूको अर्को समूह टोटलाको फूलको टीका लाउँदै आइपुग्यो । दाहिने गालामा चिटिक्क कोठीवाली युवतीले मेरो निधारतर्फ फूल अघि बढाइन् । मैले उनलाई चोरी आँखाले हेरें । उनका नयनमा पनि मुस्कान दगुर्‍यो । म कतै हराएँ । मलाई उनको एकजोर आँखा मनपर्‍यो । यी आँखालाई पहिले कतै देखेको हुनुपर्छ । याद बिर्सेर हिँडेको मान्छेलाई कसले पो याद राख्छ र ?
सहरको कोमामै छँदा चीनको युनान पुगेको सम्झें । दोङबा र मिला गाउँका आदिवासीले ७ वर्षअघि यसरी नै स्वागत गरेको थियो मलाई ।

िहो त, गाउँ साँच्चिकै बदलिएछ !
मनभरि विस्मय बोकेर रूपटार जंगल उक्लें । हरियालीबिच नागबेली पक्की बाटो बनिसकेछ । उत्तरतिर जुगल हिमाल मुसुक्क हाँस्यो । उसैलाई हेर्दै हुर्केको थिएँ म । गाईबाख्रा चराउँदै यही जंगलमा डण्डी–बियो खेलेको हुँ । अहिले त चरण र बन्यजन्तु संरक्षण गरी दुई क्षेत्रमा बाँडिएछ । अचानक, एउटा खरायो फुत्त उफ्रियो झाडीबाट । हठात ब्रेक दबाएँ । यही बेला हरिण र मयूरको लुकामारी चल्यो । लौ, भुइँ जुरेली र तित्राले खेलेको जुहारीको लय पुरानै छ त !
रूपटार चौर पुगेपछि तीनछक परें । फराकिलो पार्क, फूलैफूलले ढकमक्क । मुलगेटमा लेखिएको थियो– ‘वेलकम टु लभ पार्क’ । कुनै समय मैले घाँसको भारीसित लुटुपुटु खेलेको यहीँनेर त हो !
पार्क हरिया घाँसे मैदानमा फैलिएको रहेछ । बीचबीचमा बिछ्याइएको ढुंगे बाटाको कोरियोग्राफी उत्तिकै लोभलाग्दो । बाटा छेउछाउ रंगीचंगी फूल । एउटा प्रेमजोडी जामुनको रूखमुनि गुनगुन गर्दै थियो । उनीहरू पक्कै पाँचखाल वा भेंडाबारीतिरबाट आएको हुनुपर्छ । अलिकपर फेमेली पिकनिकको समूह नाचिरहेको देखें ।
पार्ककै बीचमा आलिंगनबद्ध यो प्रेमिल सालिकचाहिँ कसको ?
‘रूपरानी र ह्रिन्जेनदोर्जेको’ फूल गोड्दै गरेको माली मुस्कुराए, ‘तपाईं शिलालेख पनि पढ्न सक्नुहुनेछ ।’
लौ, गाउँलेहरूको लबज नि फेरिएछ । कस्तो विनयी ! कति भलाद्मी !
म सालिकतिर दौडिएँ । सानु छँदा हजुरबाले सुनाउनु हुने उही प्रेमकथा ढुंगामा खोपिएको थियो– ‘तेमालका अन्तिम राजा ह्रिन्जेनदोर्जेका दुई रानी थिए, धामोरानी र रूपरानी । रूपरानी घाँस–दाउरा गर्न यही जंगल आउँथिन् । फूलहरूबाट रङ सापटी लिएर उनी अनुहारमा लाली पोत्थिन् । कोइलीसँग मित लाउँदै सेलो गाउँथिन् । मयूरसँग हाँसखेल गर्दै नाच्थिन् । एक दिन राजा ह्रिन्जेनदोर्जे यही बाटो भएर ल्हासा जाँदै थिए, रूपरानीको चुम्बकीय जादूले तान्यो । दुवै जना प्रेममा परे । रूपरानी कान्छी बनेर ह्रिन्जेनको तेमाल दरबार भित्रिइन् । ह्रिन्जेनले आफ्नो प्रेमको स्मृतिस्वरूप जंगलको नाम नै ‘रूपटार’ राखिदिए ।’
‘छप्लक्क !’
सालिक छेवैमा प्रेमपोखरी र मिनी झरना रहेछ, बुदुना माछा फुत्त उफ्रियो । म झस्केको देखेर माली मज्जाले हाँसे । पार्कको सौन्दर्य झन् अप्रतीम बन्यो । भकुन्डे, नमोबुद्ध, कानपुर मात्रै हैन, दोलालघाट र सुनकोसीपारि सैलुङदेखिका प्रेमी आउँदा रहेछन् यो पार्कमा ।

पहेंलो घाम महाभारत पर्वतमाथिको आकाशबाट ओरालो झर्दै गर्दा म गाउँ उक्लिँदै थिएँ । यही हो मेरो पियारो डहुन्हान गाङ, अर्थात् पीपल चौतारा । यहाँ आइपुग्दा उपल्लो तेमाल जाने बाटो आधा हुने भएकाले बटुवाहरूले ‘आधाबाटो’ भन्दाभन्दै यो गाउँको नामै कुनै समय ‘आधाबाट’ बनेको थियो । अहिले गाउँलेहरू तामाङ भाषाको पुरानै नाममा फर्किएछन् । सल्ला चौताराछेउ ठडिएको भव्य गेटमा ‘डहुन्हान गाङमा स्वागत छ’ लेखिएको थियो ।
गाउँमा संघीयता यसरी आएछ ।
बाटाहरू पूरै पिच, चिटिक्क र सफाचट । दुवैतिर ढुंगा बिछ्याइएको पब्लिक लेन । हरेक आधा किलोमिटरको दूरीमा फोहोर फाल्ने चोयाको कलात्मक थुन्छे । सफा र सुकिला मानिसहरू पब्लिक लेनबाट एकदम अनुशासित भएर हिँड्दा रहेछन् । एक जनालाई सोधिहेरें– उनी वडापालिकामा स्वयंसेवा गरेर फर्किरहेका रहेछन् । अर्कोलाई सोधें– उनीचाहिँ स्थानीय अर्ग्यानिक फ्याक्ट्रीबाट ड्युटी सकाएर घर फिर्दै रहेछन् । एक युवतीलाई जिज्ञासा राखें– उनी कलेज सकाएर सामुदायिक फिल्म हलतिर हतार–हतार दौडिरहेकी थिइन् । परबाट एउटी अधबैंसे आइन्– उनी कम्युनिटी सपिङ सेन्टरमा अर्ग्यानिक तरकारी बेच्न गइरहेकी रहेछिन् । रोजगारी त यसरी सिर्जना भएछ गाउँमा ।
लौ, पच्चीस वर्षअघिको मेरो घर जाने पुरानो बाटो खै त ? अनि पूर्वेलीहरूको त्यो आँपको बोट ?
टाउकोमा कुलाकी टोपी भिरेका एक युवकले मलाई निकै गहिरोसित नियाले । उनले त मलाई होमस्टे बस्न आएको पाहुना पो ठानेछन्– मुसुक्क हाँस्दै ढुंगा बिछ्याइएको बाटोतिर औंल्याइदिए । म साइकल घिर्सार्दै लुरुलुरु उतै लागें ।
एकै छिनमा पम्परागत वास्तुकलाले भरिपूर्ण मौलिक र भव्य टोल देखियो । घरहरूमा साँझबत्ती झलमल्ल थियो । सबै घर होमस्टेमा बदलिएछन् । एउटा ठूलो घरको आँगनमा पर्यटक झुरुप्पै थिए । त्यो घरको दोस्रो तलाको कलात्मक झ्यालछेउ लेखिएको थियो– ‘तामाङ आर्ट एन्ड थिएट्रिकल सेन्टर’ ।
टोलको बीचैमा तीनतले ठूलो घर ठिंग उभिएको देखें । छानोचाहिँ प्यागोडा शैलीको थियो । वर्षौंअघि मैले छोडी हिँडेको घर यही हुनुपर्छ । एकाएक मेरो श्वास बढेर आयो । मुटु ढक्क फुल्यो । आँगनमा कपाल सेतै फुलेको बूढामान्छे पर्यटकलाई तेमाल क्षेत्रमा मात्रै पाइने बुद्धचित्त मालाको महत्त्व बताइरहेका थिए ।
मलाई देख्नासाथ ती बूढामान्छे एक्कासि झस्के । बुबाले मलाई एक पलकमै चिन्नुभयो । फोटोकपी न हुँ । सुरुमा त उहाँ केही बोल्न सक्नुभएन । अलिकपछि आमालाई डाक्नुभयो आँगनमा । आमा हेरेको हेर्‍यै हुनुभयो ।
यत्ति नै बेला पर थिएटरतिरबाट एक युवती हातमा खादा बोकेर मुस्कुराउँदै आइन् । अचम्म ! दिउसो तेमाल कोर्वाको पहिलो गेटमा टोटलाको फूल मेरो निधारमा सजाइदिने उनै युवती थिइन् । आँखामा उस्तै मुस्कान नचाउँदै उनी नजिक–नजिक आइन् । अन्तिममा हल्का झुकेर मलाई खादा लगाइदिइन् ।
‘यिनी टुरिस्ट हैनन्, तिम्रो जेठो दाइ हुन्’ एकाएक बुबाको गला अवरुद्ध भयो ।
म अवाक भएँ । सहर पस्दा कान्छी बहिनी तीन वर्षकी मात्रै थिइन् । अहिले तरुनी भइसकिछन् । बुबाको कुरा सुनेपछि बहिनीका दुवै आँखा भरिला भए । सायद त्यो खुसीको आँसु थियो । मैले बहिनीलाई गम्लाङ्ग अँगालो मारें । एउटा सिङ्गो समयलाई अँगालो मारिरहेको अनुभूति भयो मलाई । आमाले यो दृश्य हेर्न सक्नुभएन । दौडिँदै भित्र पस्नुभयो ।
साँझ बहिनीले मलाई थिएटर पुर्‍याइन् । उनका आँखा अझै ओसिला थिए । थिएटरभित्र मिनि आर्ट ग्यालरी पनि रहेछ । तेमालको इतिहास, सभ्यता, रहनसहन सबै झल्किने थाङ्का चित्र भित्ताभरि सजिएका थिए । पर्यटकको स्वागतमा नाचगान गर्ने स्टेज भव्य लाग्यो । पृष्ठभूमिमा लेखिएको थियो– ‘सेलोघर’ ।
गाउँभरिकै पर्यटक साँझपख यहीँ जम्मा हुँदा रहेछन् । कान्छी बहिनीलाई गाउँसभाले नै कार्यक्रम चलाउने जिम्मेवारी सुम्पेको रहेछ । सुरुमा किशोरी समूहले सेलो गायो । यसपछि आमा समूहले परम्परागत नृत्य गर्‍यो । ताम्बा र बोन्बोहरूको प्रस्तुति निकै बेजोड थियो । सांस्कृतिक प्रस्तुति सकेपछि एउटै टिकटमा गेङ, आलुम, खाप्से, आइराकलगायतका तामाङ परिकार खुवाउने नियमित सेड्युल रहेछ सेलोघरको ।

िसाँझ अबेरसम्म आमा कौसीमा मौन बसिरहनुभयो ।
यतिका वर्ष रुँदारुँदै सायद उहाँको आँसु सकिएको थियो । मलाई हेर्न छिमेकबाट भाउजू, ठूलाबा–ठूलीआमा र अरू नचिनिएका थुप्रै हाम्रो घरमा झुम्मिए, मानौ म अर्कै ग्रहबाट आएको मान्छे हुँ । एलियन हुँ ।
बुबाको अनुहारमा चाहिँ अनौठो खुसी दौडिरहेको थियो ।
यही बेला कान्छी बहिनीले कालो रङको पुरानो ट्याङ्का मेरो अघिल्तिर ल्याएर राखिदिइन् । माहोलमा सन्नाटा छायो । म पूरै अवाक भएँ । सहर पस्नुअघि एउटा अप्रिय अतीतलाई मैले यही ट्याङ्काभित्र कैद गरिराखेको थिएँ । बहिनीले हतार–हतार ट्याङकाभित्रबाट रातो डायरी निकालिन् । यादहरू कैद गरिएको त्यो पुरातात्त्विक डायरी मेरै थियो । डायरी निकाल्दै गर्दा पानाहरूबीचबाट एउटा चिठ्ठी भुइँमा फ्यात्त खस्यो । योचाहिँ मैले पाएको पहिलो र अन्तिम प्रेमपत्र थियो ।
‘म्हेन्दो कहाँ छिन अचेल ?’ अनायसै मेरा ओठ थरथराए ।
‘खै, के था ?’ बुबा फुस्फुसाउनुभयो, ‘युद्धमा गएपछि फर्केर आएकी छैन ।’
मेरो अनुहार क्लान्त बनेको हुनुपर्छ सायद । मैले पुराना दिन सम्झें । उनी युद्धमा गएको र म सहर पसेको एउटै समय थियो । उनकै कमान्डरले अपहरणको फरमान जारी नगरेको भए सायद यति बेला म बुद्धचित्तको बोट स्याहारिरहेको हुन्थें होला, यही गाउँमा । छेउमा म्हेन्दो हुने थिइन् या अरू नै कोही, कम से कम मैले सहरमा कोमाको सकसचाहिँ खेप्नुपर्ने थिएन ।

ि‘चु नोन बोर्ला सिगो’ (यो पनि लिएर जानुस्) भोलिपल्ट बिहान घर छाड्नुअघि कान्छी बहिनीले ‘तेमाल कोर्वा’ को गाइडबुक थमाइदिइन् । तीन दिन र सात दिनको दुईखाले रुट रहेछ, तेमाल कोर्वाको । मैले छोटो रुट रोजें । गाइड बुकअनुसार दोस्रो रात मैले तेमालकै अर्को गाउँ ठूलोपर्सेलमा बिताउनुपर्ने रहेछ ।
गाउँको सिरानबाट साइकल पूर्वतिर घुमाएँ । वातिगेनको जंगल हुँदै पिचबाटो सर्स्युंखर्क तेर्सिने रहेछ । गोरेटो बाटो त हिँडेकै हुँ– स्कुल पढ्ने बेला । सर्स्युंखर्क पुगेपछि थाहा भयो– मैले पढेको स्कुल त तेमाल क्षेत्रकै नमुना क्याम्पसमा बदलिएछ ।
स्कुलपछिल्तिरको जंगलमा साइकल रोकें । जनचेतना बहुमुखी क्याम्पसको फराकिलो र भव्य संरचना प्रस्ट देखियो । आँगनछेउ सतीबयरको रूख उस्तै रहेछ । टिफिनको बेला यहीँनेर सुस्ताउँथ्यौं हामी । सतीबयरका मसिना पात सुम्सुम्याउँदै गर्दा यादहरू एकाएक सल्बलाउन थाले । कसैको दुई थोपा याद टिलपिल–टिलपिल गरेझैं लाग्यो पातहरूमा । मैले प्रेमपत्र इन्कार गर्दा आँखा छोप्दै म्हेन्दो रोएको यही सतीबयरको रूखमुनि थियो । युद्धमा जानुअघि उनले अन्तिम चिठ्ठी थमाएको पनि यहीँनेर थियो । दुर्भाग्य ! त्यो चिठ्ठी मेरो मनमा हैन, ट्याङ्कामा थन्कियो ।
मलाई अतीतले डसेजस्तो हुन थाल्यो । मनमा बेचैनी भुलुक्क उम्लेर आयो । हुन त यस्तो बरोबर भइरहन्छ । यस्तो बेला हमेसा आँखा चिम्लिदिने गर्छु र निस्फिक्री लामो स्वास तानिदिन्छु । यसपटक पनि त्यसै गरें । आश्चर्य ! ब्युँझिँदा दुई घण्टाको यात्रा पार गरेर सुनकासशी किनारको चुखाबेंसी सहर झरिसकेको रहेछु ।
सहर भव्य र सभ्य थियो । कुनै बेलाको ढुंगा र बालुवाको चउरमा भव्य टुरिस्ट बसपार्क बनेछ । केही टुरिस्ट सुनकोसीको छालसित छिल्लिँदै थिए । सहरको कोमामै छँदा थाइल्यान्डको पटाया बिच पुगेको सम्झें ।
‘लेट्स् भिजिट टु अनोदर हिस्टोरिकल प्लेस अफ तेमाल’, लन्चपछि एक गाइडले माइकबाट बोले, ‘ह्रिन्जेनदोर्जे पार्क ।’
‘यिएएएएस...!’ झन्डै दुई सय जनाको टुरिस्ट झुन्डमा खुसी तरंगित भयो ।
केही मिनेटमै हामी सुनकोसी किनारको एउटा चौडा पार्कमा पुग्यौं । लौ, कहाँ बिलायो यहाँको सुक्खा बगर ? पार्कको बीचमा त अग्लो भ्यु टावर पो ठडिएको छ ! खुसीले पागल हुँदै म टावरतिर दौडिएँ, दुरबिन सोझ्याइहालें । बोल्दे फेदिचे मुनिको रानीदह आँखै अघिल्तिर ड्याम्म ठोक्किन आइपुग्यो ।
पार्क बनेको यही बगरमा पृथ्वीनारायण शाहका सेना र तेमालका अन्तिम राजा ह्रिन्जेनदोर्जेबीच लडाइँ भएको थियो– विसं १८१९ असोज २ गते । तेस्रोपटक तेमाल आक्रमण गर्दा पनि जित्न नसकेपछि ‘मित लाउने’ बहानामा राजा ह्रिन्जेनलाई यहीँ काटेर सुनकोसीमा मिल्काएका थिए गोर्खा फौजले । यो सुनेपछि एउटी रानीले तेमाल दरबारमै आत्महत्या गरिन् । अर्की रानी रुँदैरुँदै सुनकोसी किनारैकिनार राजा खोज्न हिँडिन् । तल घुमाउने दहमा राजाको टाउको घुमिरहेको देखेपछि त्यहीँ हाम फालिन् । त्यसयता यो दहको नामै बस्यो– रानीदह ।
‘माफ गर्नुहोला’, सम्झनाको रानीदहमा डुबिरहेको बेला पछिल्तिरबाट गाइडको आवाज आयो, ‘टुरिस्टलाई पहिलो प्राथमिकता दिनु हामी तेमालेको कर्तव्य हो ।’
गाइडको नम्र मिजासमा म पग्लिएँ । दुरबिन उनलाई थमाएपछि एक छिन सोचमग्न बनें । आखिर रानीदह त मेरो आफ्नै रगतमा पनि बगिरहेकै छ । बिस्तारै मलाई आफू को हुँ भन्ने चेतले बेस्सरी चिमोट्यो । जैविक हिसाबले त ह्रिन्जेनदोर्जेकै जेठो छोरो लोपोन छ्योइकुको नवौं पुस्तामा जन्मेको हुँ । आत्मिक हिसाबले चाहिँ म को हुँ त ?
‘खट्याक...खट्याक...खट्याक...’
जवाफमा साइकलको पाइडल तीव्र गतिले चलेको आवाज मात्रै आइरह्यो मानसपटलमा । खासमा म बेतोडसित रानीदहको भित्ता माथि–माथिको पिच बाटोमा साइकल कुदाइरहेको रहेछु । पीडाको पसिना पुछेपछि बोल्देफेदिचेको पिपल चौतारीमा उत्तानो परेर एक छिन आरामले सुस्ताउन मन लाग्यो ।
लौ, माथिको अक्करे भीरमा त ग्रेटवालजस्तै बाटो पो देख्छु त ? अनि ती कमिलाजस्ता मानिस के गर्दै छन् त्यहाँ ?
‘सुनकोसीको पानी अपलिफ्ट गरेको रुट हो यो,’ छेवैको कफी सपबाट एउटी वेट्र्से मुस्कुराउँदै आइपुगिन्, ‘कफी लिनुहुन्छ कि सर ? यहाँको तेमालकानो कफी निकै स्वादिष्ट र लोकप्रिय छ ।’
मेरो ध्यान अक्करे भीरतिरै थियो । वेट्रेसका अनुसार कमिलाजस्ता आकृति त क्यानोनिङ गर्ने पर्यटकहरू पो रहेछन् ।
उसबेलाको खडेरीग्रस्त तेमाल सम्झें । लामो निःश्वास तानें । पानी अपलिफ्ट गर्दा बनेको अस्थायी बाटोलाई हाइकिङका लागि ग्रेटवालजस्तै स्वरूपमा ढालिएको रहेछ । अक्करे भीरमा चाहिँ क्यानोनिङ । कस्तो क्रियटीभ अनि कम्बो प्याकेज !
स्मृतिको घनघोर जंगलभित्र एक्कासि सहरको कोमा देखापर्‍यो । सुनकोसीको पानी तान्ने परिकल्पना उतिखेरै भएको हो कि भन्ने लागेर आयो । सम्झनाको बलेसीमा सरकारका उतिबेलाका सचिव उमेश मैनाली, उपसचिव नारायण मैनालीसहित म पनि परियोजनाको संस्थापक टिममा थिएँ कि भन्ने भ्रमको बाछिटाहरू पैदा भए । स्मृतिदंशा बल्झिने खतरा बढेपछि मैले फेरि बेस्सरी आँखा चिम्लिदिएँ ।
यसपटक ब्युँझिँदा ठूलोपर्सेल पुगिसकेको थिएँ ।
लौ, ठूलोपर्सेल त ठमेल बनिसकेछ ! होटलै होटलको जंगल । डान्सबार, कल्चरल सेन्टरहरू, सेलो दोहोरी साँझ । आफ्नो मौलिक पहिचान भने ठूलोपर्सेलले जोगाइराखेको रहेछ । जताततै पुरातात्त्विक स्तूप र लुङदरहरू । बस्ती माझमा एउटा ठूलो घ्याङ देखियो । मल्लकालीन ६ घ्याङअन्तर्गत पर्ने यो गुम्बा जीर्णोद्धार गरेर भव्य बनाइएको रहेछ । मूल लामाबाट थाहा पाएँ, तेमालका पुराना ६ वटै घ्याङ विश्व सम्पदा सूचीमा चढिसकेका रहेछन् ।
गुम्बाकै छेउबाट मैनालीटोल हुँदै एउटा चिल्लो सडक चापाखोरीतिर तन्किँदो रहेछ । भित्तापट्टि ठूलो होर्डिङबोर्डमा लेखिएको थियो– ‘आर्थिक समृद्धिको आधार ः एकघर एक बुद्धचित्त स्याहार ।’ साँझपख होमस्टेको नानाबाट थाहा पाएँ– तेमालले आफ्नै स्थानीय कृषिप्रणाली र अर्थव्यवस्थाको मोडल तयार पारेको रहेछ । स्कुलहरूमा स्थानीय पाठ्यक्रम । इको सिस्टम बिग्रन नदिन सुनकोसी र रोसीमा माछा मार्न पनि बन्देज !

िभोलिपल्ट बिहानै याङवेल लेक उक्लें ।
चुचुरोमा भ्यु टावर बनेछ । पर्यटकहरू तेमालका सबै होटलबाट सबेरै यहाँ आइपुग्दा रहेछन्, सगरमाथाको टुप्पोमा घाम झुल्केको हेर्न । उत्तरतिर सुनकोसी र दक्षिणतिर रोसीखोलाको नागबेली बहावको दृश्य उत्तिकै रोमाञ्चक । सैलुङ र महाभारत पर्वतको सौन्दर्य झनै अप्रतीम ।
‘सर, अब तेमाल म्युजियम जानुहुन्छ कि ह्रिन्जेन दरबार ?’ एउटा गाइडले नम्र लबजमा सोधे, ‘म सामुदायिक गाइड हुँ । पैसा पर्दैन । हाम्रो तलब यहाँहरूले काट्नुभएको टिकटमै जोडिएको हुन्छ ।’
म उनकै पछि लागें । टोलीमा एक जापानी, तीन भारतीय र सात जना चिनियाँ पर्यटक पनि थपिए । उनले सबैभन्दा पहिले तोङसुम कुण्ड लगे । आठौं शताब्दीमा गुरु पद्मसम्भवले तपस्या गरेको यो गुफामा भुटान, चीन र भारतको लद्दाख तथा हिमाञ्चल प्रदेशका धार्मिक पर्यटक ओइरिँदा रहेछन् । पहिले उराठलाग्दो खरपाखाको यो गुफामाथि अहिले एक सय आठ फिट अग्लो पद्मसम्भवको भव्य मूर्ति देखें । गुफा पुग्न एक हजार आठवटा एन्टिक शैलीको सिँढी ओर्लिंदै गर्दा मलाई आठौं शताब्दीको कुनै अज्ञात समयमा हिँडिरहेजस्तो आभास हुन थाल्यो ।
मलाई फेरि स्मृतिदंशाको डरले चिमोट्यो । पुरानो समयभित्र पसेर निस्कनै सकिएन भने मेरो हालत के होला ?
मैले गाइड र पर्यटक टोली त्यहीँ छाडिदिएँ । कुद्दै माथि छ्योर्तेन डाँडा आइपुगें र पार्किङबाट साइकल निकालेर ग्योइखार गाउँतिर हतार–हतार पाइडल खिचें । अचम्म, पद्मसम्भवले यारी न्हाक्बो नामक खराब आत्मालाई बज्र प्रहार गर्दा पोखरी सुकेकाले तामाङ भाषामा ‘ग्योइखार’ (सुकेको पोखरी) रहेको यो थलोमा त पयर्टकहरू बोटिङ गर्ने सुन्दर दह पो बनिसकेछ ! अलिक मास्तिर जंगलमा ‘पद्मसम्भव रक गार्डेन’ को बोर्ड टाडैबाट देखियो, गार्डेर्नभित्र युवा–युवतीहरू रमाइरहेका थिए ।
‘तेमाल म्युजियममा यहाँलाई स्वागत छ,’ जंगलबीचको फराकिलो चौरमा भव्य संग्रहालय देखियो । तामाङ वास्तुकला फ्युजन गरी बनाइएको यो पुरातात्त्विक भवनभित्र पस्दै गर्दा स्थानिय परिधानमा सजिएकी एक युवतीले मुस्कुराउँदै स्वागत गरिन् । यिनलाई मैले पहिल्यै कहीं देखेको हुनुपर्छ । सम्झिन खोजें, तर, स्मृतिमा धूमिल बादल छाइरह्यो ।
उनै युवतीले घुमाइन् संग्रहालय । तामाङ इतिहास, जनजीवन, संस्कृतिदेखि समसामयिक परिस्थिति झल्किनेसम्मका सामग्री संगृहीत थिए भित्र । डम्फुको सिर्जनाकर्ता पेङदोर्जेको बेग्लै सेक्सन रहेछ । ताम्बा, बोन्बो र लामा दर्शनका पुराना ग्रन्थ लोभलाग्दा थिए । राजनीतिक खण्डमा तेमालका सबै पूर्वनेताहरूको मूर्ति र पोट्रेट राखिएका रहेछन् ।
‘यो कसरी सम्भव भयो ?’
‘अब पहिलेजस्तो रहेन,’ तिनै युवती मुस्कुराइन्, ‘समृद्धिका लागि व्यक्तिगत अहम् र द्वन्द्वबाट माथि उठेर सभ्य राजनीतिक संस्कृति विकास गरेका छन् नेताहरूले ।’
युवतीको अनुहारमा फेरि मुस्कान नाच्यो । म उनलाई पछ्याउँदै अर्को सेक्सनभित्र पसें । संग्रहालयभित्र भव्य आर्ट ग्यालरी देखा पर्‍यो । उनी ग्यालरीकी क्युरेटर पनि रहेछिन् । ग्यालरीको कन्टेम्पररी सेक्सनमा उनले अनौठा मान्छेहरूका मूर्ति देखाइन् । मूर्तिमध्ये कसैका आँखा त कसैका कान थिएनन् । हातमा भने टोटलाको फूल । युवतीका अनुसार सुरुमा मूर्तिहरूको हातमा बन्दुक थमाएका थिए मूर्तिकारले । मुलुकमा संघीयता घोषणा भएकै रात बन्दुक अचानक टोटलाको फूलमा बदलियो ।
‘हाम्रो संस्कृतिमा टोटलाको फूललाई प्रेमको प्रतीक मानिन्छ’, युवतीले भनिन्, ‘त्यो रात अचम्मै भयो ।’
युवतीले बोल्दै गर्दा मैले उनलाई गहिरोसित नियालें । मलाई उनी एकदमै रहस्यमयी लाग्न थाल्यो । उनको चिल्लो र सपाट गाला गर्दनतिर हल्का सोरिएको थियो । कपालले छोपिएको पछिल्तिरको भागमा केही खतजस्तो देखिन्थो । कहीँ त मैले उनलाई देखेकै हुनुपर्छ । कोमामा गएपछि मेरो पनि त अनुहारको हुलिया बदलियो नि !
एकै छिनपछि हामी चित्रकला सेक्सनमा पुग्यौं । भित्ताभरि थाङ्कादेखि फ्युजन गरिएका कन्टेम्पररी
आर्ट सजिएका थिए । संग्रहालयको यो खण्डमा गिफ्ट सपजस्तै कर्मसियल सेक्सन पनि रहेछ । पर्यटकहरू धमाधम चित्र किन्दै थिए । केही चित्रकार लाइभ क्यानभास कोरिरहेका थिए । छेवैको इजेलमा चाहिँ एउटा अधुरो क्यानभास देखियो । युवतीले अरू पर्यटकलाई जस्तै मलाई पनि त्यही क्यानभास छेउ लगेर लाइभ चित्रकला देखाउन थालिन् ।
‘तपाईं पनि यसरी चित्र कोरेर बेच्नुहुन्छ ?’
‘अँ... कहिलेकाँही’, युवती गम्भीर बनिन्, ‘तर, यो चित्रचाहिँ बेच्दिनँ । यो चित्र मैले रंगले हैन, हृदयले बनाउन लागेकी हुँ ।’
यसपछि उनले लामो श्वास तानिन् । मलाई ती युवती झन्–झन् रहस्यमयी लाग्न थाल्यो । उनी भने क्यानभासमा एकतमास कुची चलाउन थालिन् । बिस्तारै वाटर कलर चित्रमा मेरोजस्तै एक जोर आँखा देखियो । म झस्किएँ । पुरानो ट्याङका सम्झें । स्कुलछेउको सतीबयरको रूख सम्झें । ओठ बेस्सरी काम्न थाल्यो– ‘म्हेन्दो !’
युवती एकाएक क्यानभास रंग्याउन छाडेर मतिर फनक्क फर्किइन् । उनका आँखामा विस्मय भाव तरंगित थियो ।
‘तपाईंले मेरो नाम कसरी थाहा पाउनुभयो ?’
यही बेला मेरो मोबाइलमा रिङटोन बज्यो । यसपटक म साँच्चिकै झस्किएँ । ब्युँझिँदा काठमाडौंको ओछ्यानमा असिन–पसिन थिएँ । धुलिखेलबाट जगत भाइले फोन गरेका रहेछन् । उनी हतास मनस्थितिमा भन्दै थिए– ‘दुखद खबर छ दाइ । दलहरूको मनमुटावका कारण तेमाल संग्रहालय नबन्ने भयो ।’

Page 20
कोसेली

सिञ्जाली बिहानी

- रूपेश श्रेष्ठ

कुनै बेला ऐतिहासिक जुम्ला राज्यको राजधानी थियो सिञ्जा उपत्यका । खस भाषा र सभ्यताको उद्गमका रूपमा यो उपत्यकाको महत्त्व अलग्गै भए पनि आज यो उपत्यका पुग्दा राज्यभन्दा निकै टाढा पुगेको अनुभूति हुन्छ । बिजुलीको केन्द्रीय प्रसारण लाइनमा अझै नजोडिएको सिञ्जालाई कच्ची सडकले बल्लबल्ल छोएको छ । हिमा नदीले सिञ्चेको सिञ्जाका फाँटहरूमा अहिले रातो र कालो मार्सी धान भित्र्याउने चटारो छ । कात्तिकको एक बिहान झल्लमल्ल घाम लाग्दा सिञ्जा यस्तो देखियो ।
सुर्ती, चुरोट र तमाखु खानेको संख्या यहाँ निकै ठूलो देखियो । महिला र पुरुष दुवै यो अम्मलमा उत्तिकै लिप्त देखिए । वृद्ध मात्र नभई नयाँ पुस्ताले चुरोट पिएको देखिन्छ । कर्णाली प्रदेश देशभरिमै सबैभन्दा कम सरदर आयु (५५.६ वर्ष मात्रै) रहेको प्रदेश हो । सिञ्जा र कणार्ली तमाखु धेरै खपत हुने मात्र प्रदेश भने होइन । यहाँका मार्सी र सिमी झन् लोकप्रिय छन् । जुम्लाको मार्सी र सिमी थन्क्याएको दृश्य पनि देखियो । विशेषगरी जुम्लाको मार्सी चामलको माग काठमाडौंलगायतका क्षेत्रमा बढ्दो छ । व्यापारीहरू अहिले जुम्लामा घरघरमै पुगेर मार्सी चामल र धान उठाउने गर्छन् जसले गर्दा किसानलाई अनाज बेचेर जीविका चलाउन थोरै भए पनि सहज हुन थालेको छ ।
सिञ्जामा खाना पकाउनका लागि अझै पनि दाउरा नै प्रयोग गरिन्छ । हुनेखाने केहीका घरमा ग्यास जोडिएको पाइन्छ तर अधिकांश घरका चुलोमा दाउरा नै बल्छ । सरकारी र गैरसरकारी पहलमा धेरैका भान्सामा सुधारिएको धूवाँरहित चुलो भने बनेका छन् ।
सिञ्जाका विद्यालयमा हाल छात्रहरूको तुलनामा छात्राको संख्या बढी छ । पढाइ नसकिँदै विद्यालय छोड्नेको संख्या पनि घट्दो छ । चेतना विस्तारले छोरीहरूको सानैमा विवाह गरिदिने प्रचलनमा पनि कमी आइरहेको छ तर बालविवाह निमिट्यान्न भइसकेको भने छैन ।
सिञ्जामा अहिले पनि ४० भन्दा बढी परम्परागत आरन छन् जहाँ कुटो, कोदालो र अरू हतियारहरू बनाउने काम हुन्छ तर यी आरनहरू व्यावसायिकभन्दा पनि पुर्ख्यौली पेसा जोगाउने शैलीमा मात्र चलेका छन् । यहाँका अधिकांश परिवारका पुरुषहरू रोजगारीका लागि कि नेपालगन्ज या सीमावर्ती भारतीय सहरहरूतिर जाने गर्छन् । महिलाहरू कृषि र घरधन्दामै व्यस्त हुने गर्छन् ।

Page 21
कोसेली

यो मन कहाँ दुख्छ ?

एनाटोमीमा मैले कहिल्यै कतै ‘मन’ पढिनँ । शरीरका अन्य अंगहरूझै‘मन’ कुनै अंग विशेष र‘मन’ रहने ठाउँ र स्थानविशेषको बारेमा कतै पढेको वा उल्लेख भएको पनि पाइनँ । अनि यो ‘मन’ भन्ने चीजको उपस्थिति हाम्रो शरीरभित्र कहाँ र कसरी रह्यो ?
- अनिल श्रेष्ठ

आज म धेरैचोटि आफैंसँग घोत्लिएको छु । मेरो यो घोत्ल्याइँले भने बिहानैदेखि घरमा श्रीमतीको छटपटीलाई बढाइरहेछ । मेरो यो घोत्लिनु र एकोहोरिनुले उनी निकैअघिदेखि अलमलिएर मलाई नियालिरहेकी छन् । मेरो व्यवहारमा आएको यो एक्कासि परिवर्तनले उनलाई पनि एउटा सन्तापले लखेटिरहेको हुँदो हो सायद । उनी घरीघरी मेरो नजिक आउँछिन् । मेरो कपाल मुसार्छिन् र मलाई सोध्छिन्, ‘सन्चो भएन कि के हो ? हँ ??’
म चुपचाप उनलाई हेरेर टोलाइरहन्छु । उनी दुविधापूर्वक मलाई हेरेरै टोलाइरहन्छिन् । र, फेरि सोध्छिन्, ‘सन्चो लाग्या छैन ?’
तर मेरो छेउमै उभिएको उनको त्यो उपस्थितिसँग भने म बेसरोकार छु । उनका ती प्रश्नहरूले मलाई छुँदैन । मेरो यो मौन व्यवहारले उनी अचम्म मानेर फेरि पनि मलाई नियालिरहन्छिन् । म उनको आँखा र निधारभरि उठिरहेको उनको त्यो असामन्जस्य, चिन्ता र छटपटीहरूलाई हेरिरहन्छु । र, निस्फिक्री छु । म आफ्नै मनसँग एकान्तमा छु । मनको एउटा लयमा छु । मनसँग एकालापमा छु । र, बेफिक्री छु ।

‘मन एकातिर बाँधिएर
एकातिर पोखिने वस्तु हो
मन एकातिर खुम्चिएर
एकातिर फैलिने वस्तु हो
मन एकातिर कठ्याङ्ग्रिएर
एकातिर बल्ने वस्तु हो
मन यी अन्तरद्वन्द्वलाई
सम्हाल्ने वस्तु हो
थाहा नपाए,
एउटा प्रवेशद्वार हुन्छ जिज्ञासाको
ढकढकाउनु राम्रो ।’
(संगतिहरूको आँखीझ्यालबाट, पारिजात)

जिन्दगी, साना–साना कुराहरूले टाल्दै हिँड्नुपर्ने । सिलायो, फुस्किन्छ । फेरि सिलायो, फेरि फुस्किन्छ । मन कहिले सियो बनिदिन्छ । मन कहिले धागो बनिदिन्छ । टाल्दाटाल्दै जिन्दगी मक्किएरै जानुपर्ने । च्यातिएरै सकिनुपर्ने ।किन यो मनसँग आज मलाई यतिधेरै घोत्लिरहन मन लागिरहेछ !

‘मन’ धेरैले, धेरैचोटि, धेरै ठाउँमा र धेरै प्रसंगमा प्रयोग र उच्चारण गरिरहने शब्द हो यो सायद । चाहे त्यो लेख्य साहित्य गीत, गजल, कविता होस् या दृश्यश्रव्य चलचित्रका संवाद, चाहे त्यो संवेगात्मक होस् या परिहासको अवस्था, दुःख होस् या सुख या एकान्तका क्षणहरू, मनको सम्बन्ध मनग्गे पाइन्छ । सामान्य बोलचाल र व्यवहारमा सधैं अस्तित्व जमाएर बस्ने यो भावपरक शब्दको प्रभाव र प्रयोग कहाँ र कसरी दोहोरिरहँदो रै’छ, एकचोटि हेरौं न ।

‘त्यसो नभन न, मन दुख्छ ।’
‘मैले उसलाई मनमनै मन पराएँ ।’
‘मेरो मन खुसीले नाचिरह्यो ।’
‘मन फुकाएँ ।’
‘मन रोइरह्यो ।’
‘मनको चोट ।’ इत्यादि, इत्यादि ।

अधिकांश फिल्मका गीतका दृश्यहरूमा प्रेमी र प्रेमिकाबीचको एउटा प्रेमिल क्षणलाई अभिव्यक्ति दिनका लागि पनि यो मन शब्दको अधिक प्रयोग भएकै छ क्यार । आसक्ति, प्रेम र अनुराग भावलाई मनको अवस्थासँग प्रकट गरेर एउटा आह्लाद सिर्जना गरिएका श्रव्यदृश्य साहित्य पनि प्रशस्तै निर्माण गरिएका छन् । मनको यो विराट स्वरुप र व्यापकतालाई खोज्न पनि म अहिले यति विछट्टले एकोहोरिरहेको छु ।
कहिलेकाहीँ एकलकाँटे भइदिन्छ मन । एउटा यायावर जो क्षितिज खोज्दै हिँड्छ र ऊ क्षितिज भेट्न निरन्तर एक्लै यात्रामा हिँडिरहेको हुन्छ, ऊसँग सधैं एउटै प्रश्न रहन्छ त्यो शून्य आकाश परको जीवन कस्तो होला ! कहिलेकाहीँ म त्यो यायावरले झैं सोच्छु, साँच्चै मान्छेभित्र यो विराट मन अट्ने ठाउँ कस्तो होला ! एउटा व्यक्ति, व्यक्तिसँग जोडिने परिवार अनि समाज अनि देश अनि सिङ्गो मानव जाति र समुदाय, यी सबैसँग जोडिएर आउने भावना, विचार र स्वार्थ । ती आउँछन् कहाँबाट ?
म एकै छिन मनको अस्तित्वलाई खोज्छु । यो कहाँ, कुन आकार र स्वरूपमा, कुन आकृतिमा र कुन अस्तित्वमा विद्यमान छ ? घोत्लिन्छु । मैले स्वास्थ्य शिक्षा पढ्दा शरीरविज्ञान (एनाटोमी) पढेको छु । एनाटोमी भनेको शरीरका अंगहरू सम्बन्धी अध्ययन गर्ने विषय हो । मैले त्यहाँ हाडहरूको विषय पढेको छु । मान्छेको टाउकाको हाडभित्र रहने मस्तिष्क (गिदी), नसा र रक्तनलीहरू पढेको छु । छातीको हाड (करङ) भित्र रहेको मुटु, कलेजो, फोक्सो, आमाशय र पित्तथैली पढेको छु । र, पेल्भिस क्याभिटीभित्र रहेको मृगौला, मूत्रनली र मूत्रथैलीहरू पढेको छु । शरीरभित्र कहिलेकाहीँ यी अंगहरूमा हुने संक्रमित रोगहरूले यी अंगहरू दुख्छ । तर एनाटोमीमा मैले कहिल्यै कतै ‘मन’ पढिनँ । शरीरका अन्य अंगहरूझै ‘मन’ कुनै अंग विशेष र ‘मन’ रहने ठाउँ र स्थानविशेषको बारेमा कतै पढेको वा उल्लेख भएको पनि पाइनँ । अनि यो ‘मन’ भन्ने चीजको उपस्थिति हाम्रो शरीरभित्र कहाँ र कसरी रह्यो ? यो कसरी संक्रमित हुन्छ ? कसरी दुख्छ ? मन, न शरीरमा कतै यसको उपस्थिति छ, न आँखाले कतै यसलाई देख्न सकिन्छ, न यसलाई कुनै आकार र स्वरूपमा छाम्न सकिन्छ । फेरि पनि मान्छेलाई यसले दुखाउँछ, रुवाउँछ, हँसाउँछ, खुसी बनाउँछ ।
मान्छेमा रिस कहाँबाट आउँछ ? कहाँबाट आउँछ सुख ? दुःख कहाँबाट आउँछ ? र, कहाँबाट आउँछ अभिमान ? सबैले दिने एउटै जवाफ हुनेछ सायद, ‘मनबाट’ । यो रिस, सुख, दुःख, अभिमान, सन्ताप, प्रेम, घृणा, आक्रोश, खुसी, आनन्द सबैको स्रोत मन हो भने यो मनचाहिँ छ कहाँनिर ? एउटै हावाको स्पर्शले पनि किन कसैलाई आनन्द दिन्छ ? र, कसैलाई बिझाउँछ ? एउटै फूलको रङ किन कसैलाई मन पर्छ र कसैलाई मन पर्दैन ? कुनै मान्छे, कुनै वस्तु या चीजसँगको आकर्षण किन हुन्छ ? मन मान्छेको शरीरभन्दा बाहिरको अस्तित्व हो भने मान्छेलाई यसले नदुख्नुपर्थ्यो । मान्छेलाई यसले नछुनुपर्थ्यो ।
एक दिन मेरो एकजना केटी साथीले एउटा सरप्राइज दिने कुराको गाँठो फुकाउँदै मलाई जिस्किएर भनिन्, ‘तिम्रो मन छामेकी ।’
मैले तुरुन्तै सोधें उसलाई, ‘कसरी फेला पार्‍यौ र मेरो मन ?’
उनी एकै छिन अलमल्ल परिन् र लजालु भावले मलाई हेरिरहिन् ।
अचम्मको छ यो मन । कतिले कतिलाई रुवाएको छ । कतिले कतिलाई दुखाएको छ । कतिले कतिलाई निस्फिक्रीसँग हँसाएको पनि छ । भन्छन् नि, ‘मन रोएको देखिँदैन । मन बिमारी भएको औषधि लाग्दैन ।’ बिचरा ! चिकित्सकहरू, शरीरको घाउ पो देख्छन् । उपचार गर्छन् र निको बनाउँछन् । मनको घाउ देख्दैनन् । जाँचपड्ताल गर्छन् । सबै अंग हेर्छन् । सबै उस्तै दुरुस्तै छन् । कुनै संक्रमण देखिँदैन । अनि भिटामिनको झोल लेखिदिन्छन् र भन्छन्, ‘लाऊ, यो खाऊ र एक सातापछि आऊ ।’
बिरामीको दुब्लाउँदै र पातलिँदै गएको जीउलाई हेरेर डाक्टरले छातीको भिडियो एक्सरे गरिदिन्छन् । तर कतै मस्तिष्कको, मुटु र कलेजोको छेउको कुनै भागमा मनको भाग देखिँदैन । अनि कुन अंगको उपचार गरिदेओस् चिकित्सकले !
म घोत्लिएको छु निकै दिनदेखि आफ्नो मनसँग । दुःख, पीडा, खुसी, हाँसो, उत्साह, निराशा, छटपटी, वेदना मान्छेको मनसँग गाँसिएर कसरी आउँछ ? मान्छेभित्र यो कसरी उब्जन्छ ? विचारहरूको तरंगले शरीरमा ल्याउने प्रभाव हो सायद मन । मेरा घोत्ल्याइँहरू बाँकी छन् अझै । म भने अरुणा लामाको सुमधुर आवाजमा राजेन्द्र थापाको गीतलाई गुन्गुनाइरहेको छु यतिखेर :

‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालें
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें
यसपालि त मनै फाट्यो
केले सिउने, केले टाल्ने हो !’

कोसेली

मैले देखेको टुँडिखेल !

- रामेश्वरप्रसाद बराल

पहिलोपटक म आइएको परीक्षामा सामेल हुन २०१८ सालको चैतमा काठमाडौं आएको थिएँ । म एक्लै होइन, मजस्ता धेरै मित्र यहाँ आएका थिए । काठमाडौं नै आउनुपर्ने हाम्रो बाध्यता थियो । भर्खर–भर्खरै शिशु त्रिभुवन विश्वविद्यालय आफैंले परीक्षा सञ्चालन गर्न थालेको थियो । नत्र यी सबै परीक्षा पटना विश्वविद्यालयले सञ्चालन गर्दै आएको थियो । पटनाले सञ्चालन गर्दा परीक्षाफल उतैको समाचारपत्र ‘आर्यावर्त’ ले प्रकाशित गर्थ्यो । मेरो एउटा दाजुको आईकमको परीक्षाफल दुुई वर्षअघि यसैमा आएको मलाई सम्झना छ ।
त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालन गरेर आफैं स्थानीय शिक्षक–परीक्षकबाट उत्तरपुस्तिका परीक्षण गराएर परीक्षाफल प्रकाशित गरे पनि परीक्षाकेन्द्र काठमाडौ मात्र थियो । काठमाडौँबाहिर जति पनि कलेजका परीक्षार्थीहरू थिए, सबैले यहीँको केन्द्रबाट सामेल हुनुपर्थ्यो । जस्तो हामी विराटनगरबाट आयौँ, उसैगरी धरान, वीरगन्ज, पोखरा, पाल्पा आदि कलेजबाट परीक्षार्थी यहीँ ओइरिन्थे । त्रिवि आफैंले परीक्षा चलाएको लाभमा परीक्षार्थीले भाषा माध्यम छान्न पाएका थिए, अंग्रेजी वा नेपाली । नत्र कि अंग्रेजी कि हिन्दीमा लेख्नुपर्थ्यो ।
त्यतिखेरको काठमाडौं न्युरोडको सेरोफेरो पूर्वपश्चिममा मुस्किलले टुकुचा र विष्णुमती भन्न सुहाउँथ्यो । हामी विद्यार्थीनिम्ति तीनवटा थलो बढी महत्त्वका थिए– होटल, बहाल कोठा र फराकिलो टुँडिखेल । घुम्न, होटलमा खान आउन वा यहाँबाट कोठामा फर्किन साझे बाटो थियो, न्युरोड । यहाँभन्दा पर्तिर पुग्नु वा जानु हामी विद्यार्थीनिम्ति उति जरुरी थिएन । मैले त्यो वर्ष देख्ताको टुँडिखेल एउटा फराकिलो उत्तर–दक्खिन फैलेको सग्लो चौर थियो । योसँग टाँसिएकामा उत्तरतिर दरबार हाइस्कुल, रानीपोखरी र त्रिचन्द्र कलेजका सरस्वती सदन र घण्टाघर थिए । पश्चिममा वीर अस्पताल थियो । यसै चौरमा दक्खिनतिर एउटा खरीको बोट थियो । यो बोट झ्याम्म परेको तलबाट माथि आकाश छिचल्न नमिल्ने बाक्लो देखिन्थ्यो । यसलाई इतिहास र राजनीतिको चौतारो मानिन्थ्यो । राणाकालदेखि बीपीसम्मको अन्त्य यसमा गाँसिएको थियो ।
यस्तो सपाट मैदानका चार कुनामा राणा शासकका घोडसवार सालिक थिए । बीचमा पूर्व लुमडीथान (भद्रकाली), अलिकति दक्खिनमा सेनाको ससानो ब्यारेक थिए । वरिपरि सल्ला, काइँयाजस्ता रूख बिरुवाले मन प्रफुल्लित गराउँथे । छेउछेउमा वरिपरि हरियाली, अझ हरियाम्मे, थियो । प्रदूषण के हो थाहा थिएन । वातावरण साह्रै स्वच्छ । न धूलो, न कार्बनडाइअक्साइड ।
त्यतिखेरका भेटघाट थलोमा न्युरोडपछि टुँडिखेल थियो । बाहिरबाट काठमाडौं आउनेहरू न्युरोडमा भेटिएनन् भने यो खुला चौरमा भेटिन्थे । फुर्सत वा अल्छीलाग्दा हामीले टहलिन जाने ठाउँ यही थियो । उत्तरमा अलिकति बाटोले छुट्याएको रानीपोखरीपछि यही थलो थियो जहाँ हामी बहालका गुम्सेका अँध्यारा कोठाबाट लामो सास फेर्न पुग्थ्यौं, हरियो दुबोमाथि बस्थ्यौं । कसैको छेकबार थिएन । फाट्टफुट्ट असन भोटाहिटीतिरका रैथाने यहाँ खुलापनको आनन्द लिन आएका हुन्थे । कोही लपेस, टपरीमा भोज खाइरहेका हुन्थे । स्कुले केटाकेटी भकुन्डो, क्रिकेट खेलेर रमाइरहेका देखिन्थे । कतैकतै गाईबस्तु र मानिसले गोब्य्राएको र थोप्य्राएको देख्नु भने सामान्य थियो । यहाँ सेनाका जवान, सेनाका घोडा र ट्राफिकका टाँगन घोडा तालिम खेपिराखेका देखिन्थे । आक्कलझुक्कल विदेशी किशोरकिशारीहरू घोडसवारीको रौस मेट्न घोडाका पिठ्युँमा मस्किरहेका र घोडा पड्केर लडिहाल्ने त्रासका अनुहारमा देखिन्थे ।
न्युरोड गेटको सोझो पूर्व टुँडिखेल छिचोल्दै विद्युत् कर्पोरेसनतिर बाटो काटिन्थ्यो । यहाँबाट दक्खिन एकैचोटि थोरैले घेरेको सैनिक क्षेत्र र सानो टुँडिखेल देखिन्थ्यो ।
पहिलोपटक आउँदा मलाई उपत्यकामा चैत महिनामा समेत जाडो भयो । मैले मेरो जीवनको पहिलो कोट सिलाएर लाउँदै विराटनगर फर्किनुपर्‍यो । काठमाडौँ पहिलोपल्ट छिर्दा मेरो बिजोक थियो । वीरगन्जबाट बस चढेर आएँ । ‘बाइरोडको बाटो’ ले भन्भनी रिङटा लागे । म टुँडिखेलको सामुन्ने धरहरामा ओर्लेको थिएँ । वीरगन्ज आइपुग्नसमेत विराटनगरबाट जोगबनी हुँदै भारतीय रेल चढ्दै, छोड्दै, फेरि अर्को चढेर रक्सौल हुँदै दुई दिन लागेको थियो । फर्किंदा फेरि त्यो बिजोक खेप्न मन लागेन । सट्टामा हावाइजहाज चढेँ । त्यतिखेरको फुर्तीमा अरूले देख्ता ‘ओहो ! जहाज चढ्ने ?’ भनुन् र तीभन्दा ‘मै जान्ने ! मै ठूलो !’ देखिन खोजेँ । मेरो यो हवाई यात्रा पनि पहिलो थियो । हवाइअड्डामा ओर्लंदा तराईहुँदो चलेको वैशाखको हावा भत्भती पोल्ने तातो थियो । यसले मेरो मनै विरसिलो बनायो र एकपटक फर्केर फेरि टुँडिखेलमा घण्टौँ अलमलिने सुषुप्त इच्छा भैर≈यो ।
दोस्रोपटक २०२० सालमा बीए परीक्षामा सामेल हुन आउँदा खरीको बोट अलप भैसकेको थियो । यतिखेर दिल्लीबाट आएका एक जना ‘प्राइभेट’ परीक्षार्थीसँग परीक्षाको साझे ‘पेपर्’ मा अरू दुई मित्रसमेत झई निकै लामो समयसम्म यसै चौरमा बसेर अन्तर्त्रिया गरेको सम्झन्छु । यसपछिका दिनमा यसका विनाश क्रम थपिँदै आए । यसैलाई विकास भनियो ।
तेस्रोपटक २०२१ सालमा महाँकाल मन्दिरपूर्व टुँडिखेलमा ह्वास्ह्वासती एउटा नौलो पक्की निर्माण देखेँ । यतिखेर म कसैका लहैलहैमा राजा महेन्द्रको जन्मोत्सव पारेर आएको थिएँ । यही निर्माणलाई सैनिक मञ्च भनियो र यसैमा विराजित राजा महेन्द्रलाई अघिल्तिरबाट हामी युवकले ‘मार्चपास’ गर्दै अभिवादन गरेका थियौँ । यसमा मेरो बाध्यता थिएन, रहर थियो । तिनताका काठमाडौं आउन कुनै उद्देश्य चाहिन्थ्यो र यो राजा महेन्द्रको जन्मोत्सव थियो । यो कार्यक्रममा भाग लिन मैले पहिरेका सेतो कमिज र सेतो प्यान्टलगायत बाटो खर्चसमेतमा आफ्नो परेको थिएन । यो कार्यक्रममा यसरी नै चौधै अञ्चलबाट आएका थिए । उपत्यकाबाहिरबाट यहाँ आउनुलाई ‘नेपाल जानु’ भनिन्थ्यो र यसरी आउन पाउँदा अरूले डाह गरेरसमेत हेर्ने गर्थे ।
मेरो पहिलोपटकको काठमाडौँ र यसपछिका पाँच वर्षमा टुँडिखेलको कायापलट भयो । रत्नपार्क बन्यो, सहिद स्मारक बन्यो, यो स्मारक हुँदै सिंहदरबारतिरको भद्रकाली वरिपरि फराकिलो बाटो खुल्यो । खरीको रूख मात्र होइन, धेरै बोट, बिरुवासमेत अलप भए । राणा शासक घोडा चढेका सालिकहरू चौरमा अर्काअर्का ठाउँ सर्नेमा परे । यिनको सर्ने क्रम रोकियो, रोकिएन समयले भन्ला !
टुँडिखेलमा एक्लो घाम ताप्ता मेरा विद्यार्थीकालको रौसमा महाकवि देवकोटा, कवि शिरोमणि लेखनाथ र नाटककार समका रचनाहरू सम्झिएँ । आफू साहित्यको विद्यार्थीसम्म र बाँकीमा केही नभए पनि नौला विचारमा यहाँ मगज रुमल्लिए । माथि आकाश नियाल्दा बादल तरेली पर्दै र तरंगित हुँदै विचरण गरेको देख्नु प्रकृतिको एउटा बेग्लै सहजता थियो । बादलका चोक्टा सोहोरिएर कतिखेर धुम्मिने र सिरिर्र बर्सने भन्न सकिन्नथ्यो । त्यतिखेर जिउले भन्थ्यो, ‘जाडो पो भयो ! न्यानो लुगा लाउनुपर्ने थियो !’ उत्तरमा शिवपुरी, दक्षिणमा गोदावरीका डाँडा देख्न आँखालाई बल पर्दैनथे । रुमल्लिँदै जाँदा रानीपोखरीको जलाशयमा घण्टाघरको टुप्पो पाएँ । अचम्म मानेँ घण्टाघरको टुप्पोमा माछा जलविहार गरिरहेका थिए । आकाशमा होइन, जलाशयभित्र चराचुरुंगी उडिरहेका थिए । एकमनले भन्यो, धरहरा गजूरको कलम तिखारेर रानीपोखरीको मसीदानीमा चोब्दै टुँडिखेलको सपाट मैदानलाई ती सर्जकले कति घोट्न पाए र कति सिंगारे हुन् ! अनि पो रहे अजर, अमर र कालजयी ।
हिजो ती कवि, साहित्यकारले तिखारेर र घोटेर आज धरहरा जर्बुटो र बोदो बनेको होइन, तिनले मसीदानी बनाएर चोब्दा–चोब्दा रानीपोखरीको जलाशय सुकेको होइन, लेख्तै फेरि चित्त नबुझेर च्यात्दै धुजा पारेर ‘डस्टबिन’ मा फाल्ने कागजका चिथ्राजस्तो तिनले चौरलाई च्यातेर धुजा–धुजा बनाएका पनि होइनन् । छेउ रैथानेका भोज, मानिस र पशुका गोब्रिएका थाप्राले यो दुर्गन्धित भएको पनि होइन । बरु यतिखेर मैले पेसाको सम्मानसाथ अबोध ज्यापूले अघिपछि काँधमा नोल भिर्दै सकी नसकी खर्पन बोकेको सम्झेँ । खर्पनले जैविक मलमा काउली सप्लाउन र फलाउन बोक्ने मोह देखाउँथ्यो । धेरै टाढा लैजानुपर्ने थिएन पनि, थियो आजको प्रज्ञा प्रतिष्ठान भएको काउली गरासम्म, कि आजको रमाइलो मेला थलो भृकुटीमण्डपको फाँटसम्म, कि सिंहदरबारअघि भद्रकालीपूर्वका गहिरी बारीसम्म । ज्यापूका जीवनकर्म चोखो थिए, आजका रासायनिक मलको संहारका लयभन्दा धेरै स्वास्थ्यकर । तिनका चोखो पाइला यही टुँडिखेल वा यसैको वरिपरिबाट देखिरहन पाइन्थ्यो । आज छेउमा चारैतिर ठडिएका सहिदहरूले सम्मान त पाए, तर आफ्नो तीन सय वर्षको इतिहास र संस्कृति धुल्याए । ठूलो र सानो टुँडिखेल गरी दुई माइल सग्लो, लामो टुँडिखेलको संस्कार चोक्टियो । पाँच–छ दशकअघिसम्म एसियाको सबभन्दा लामो ‘परेड ग्राउन्ड’ को भूगोल र रेखागणित मेटियो !
मेरो हुती अब मेरो टीठलाग्दो नजर हो !

Page 22
कोसेली

मृत्युको आयु नाप्ने उपन्यास

- कृष्ण धरावासी

मृत्युलाई टार्न सकिँदैन । त्यसलाई केही समय रोक्न सकिएला आधुनिक चिकित्सा पद्धतिको सहयोगबाट तर कहिल्यै नमर्ने बनाउन सकिँदैन । सारा इतिहास मृत्युको कथा हो । सारा पुराणहरू मृत्युकै अभिलेख हुन् । नमर्नकै लागि मानिसहरू मरिरहेका हुन्छन् । मर्नुकै विरुद्धमा असाध्य कामहरू गर्न तयार हुन्छन् र तिनै कामहरूकै सिलसिलामा मरिरहन्छन् ।
मृत्यु भनेको माया हो । मायाले मानिसलाई बाँच्न दिँदैन । माया यस्तो प्रिय छ, त्यसले आफ्नै निम्ति मर्न प्रेरित गरिरहन्छ । मानिस देशका लागि भनेर मर्न जान्छ, परिवारका लागि, प्रेमका लागि, मित्रताका लागि । अनेक कारण हुन्छन् जसलाई बँचाउन भनी मानिस मर्न चाहन्छ– मरिरहन्छ । जति पनि साहित्य, संगीत, कला छन्, ती सबैले मृत्युकै प्रशंसा गरेका छन् । दुःखको कथा खुब बिक्छ । दुःख मृत्युतिरकै गोरेटो हो नि त !
मृत्यु कटुसत्य हो । अपरिहार्य हो । तर मृत्यु एक यस्तो कल्पना पनि हो जो आफैंमा डरलाग्दो पनि छ । जीवनको कुनै न कुनै दिन वा क्षणमा जसले पनि भेट्नैपर्ने मन नपर्दो आगन्तुक, जो आफैंमा अर्को थप आतंक छ मृत्यु । नमर्न मन लाग्नेहरूले नै मृत्युलाई यति धेरै डरलाग्दो बनाए । जति धेरै मानिसमा आकांक्षाहरू उम्रिदै जान्छन्, उति नै मृत्युदेखि भाग्न मन लाग्ने हो । मृत्युका कारण र यसबाट बाँच्ने उपायका खोजहरूले नै यसलाई यति महंगो र डरलाग्दो बनाएको हो ।
सबै दर्शन, धर्म, आदर्श, संस्कृति, परम्पराहरू मृत्युविरुद्धका अभियान हुन् तर तिनले पनि मृत्युकै वर्णन गर्छन् आकर्षक पाराले । तिनीहरू मृत्युलाई यसरी वर्णन गर्छन् मानौं तिनीहरू भर्खरै मृत्युसँग भोजमा सामेल थिए । महत्त्वाकांक्षाहरूले बनाएको त्यस आतंकलाई नडराउने बनाउनका लागि एकदम नै सिँगारेर प्रस्तुत गरिन्छ । हरेक स्वस्थ मानिस ‘जीवन केही हैन । मरे मरिन्छ तर मनमा लागेको कुराचाहिं गरिन्छ’ भनेर भीडमा गफ दिन्छ तर कुनै कारणले शरीरमा सामान्य असुविधा मात्र भयो भने सबैभन्दा पहिला अस्पतालको गेटमा सेल्फी खिचिरहेको हुन्छ ।
हाम्रा पुराणमा केही पात्र छन् जसले मृत्युलाई जितेको मानिन्छ– जस्तो अष्ट चिरञ्जीवी । कति पात्रहरू मृत्यु भइसकेपछि पनि बौरिएका र फेरि अर्को कुनै कालमा मरेका भेटिन्छन् । जन्मसँग जोडिएको हर्क हरेक क्षण मृत्यको त्रासदीसँग लुकिरहन्छ । सबै थोकसँग जोडिएको अकाट्यता भनेकै मृत्यु छ ।
नेपाली साहित्यमा लेखिएका अधिकांश कृति वियोगान्त छन् । मलाई लाग्छ नेपाली साहित्यमा अत्यन्त लोकप्रिय हुँदै पहिलोपल्ट दुःख र मृत्युको वियोगले प्रवेश पाएको कृति भनेको ‘मुनामदन’ नै हो । त्यसैको वियोगान्तक प्रभाव बोकेर पछिल्लो कालमा विभिन्न विधामा किताबहरू लेखिएका छन् । मृत्युलाई आँसुसँग साटेका कृति कति छन् कति । हरेक काव्य, महाकाव्यहरूले कुनै न कुनै पात्रलाई नमारी कथानकको अन्त्य नै गर्दैनन् । मैले आफैं पनि अधिकांश कृतिमा मृत्युगीत नै गाएको छु । मानिसलाई बिलौना गाउन मन पर्दो हो सायद । वियोगान्तक कृतिको बजार राम्रो देखिएर पनि होला लेखनमा वियोगले अत्यधिक पृष्ठ पाउने गरेको वा हाम्रो जीवनशैली नै त्यस्तो होला !
मैले पछिल्लोपल्ट मृत्युमाथि पढेको पुस्तक भनेको ‘मृत्युको आयु’ हो । नामैले पाठकलाई मृत्युबारे कल्पना गर्न लगाउँछ र जिज्ञासा पनि उत्पन्न गराउँछ । लघुकथा विधामा आफूलाई एकछत्र उभ्याउन सफल रवीन्द्र समिरको रचनाशिल्प स्वस्थापित छ । यसअघि प्रकाशित दर्जनौं लघुकथाकृतिले उनलाई नेपाली पाठकमाझ परिचित गराइसकेका छन् । चिकित्सा पेसामा रहेका उनको रुचि साहित्यतिर कसरी झुक्यो होला भन्ने मलाई लागिरहन्थ्यो । म २०६४ सालमा जागिरसहित राजधानी आएपछि पहिलोपल्ट मेरो उनीसँग कुनै साहित्यिक कार्यक्रममै भेट भएको थियो । त्यसबेला उनले मेरो ‘शरणार्थी’ उपन्यासको तारिफ गर्दै त्यसलाई अंग्रेजीमा अनुवाद गर्न प्रोत्साहन गरेका थिए । मैले उनका थोरै मात्र लघुकथाहरू पढेको थिएँ त्यसबेला । मलाई लाग्छ लघुकथा विधाले पाएको सबैभन्दा ठूलो पुरस्कार उनकै किताबले पाएको थियो २०६५ सालको पद्मश्री ।
रवीन्द्रको यो पुस्तक उपन्यास हुँदाहुँदै पनि लघुकथा हो । लघुकथा हुँदाहुँदै पनि फेरि उपन्यास हो । डा. ध्रुवचन्द्र गौतमले निकै पहिले योभन्दा पनि सानो रूपमा सूत्रकथाको प्रयोग गरेका थिए । पछि त्यही प्रयोगमा सूत्रउपन्यास पनि लेखिएको थियो । मैले ‘कान्छी राधा’ नामक सूत्रकाव्य लेखेको थिएँ भने अमर त्यागीले पनि सूत्र उपन्यास लेखेका थिए । सूत्रलेखन अत्यन्त छोटोमा धेरै भनिने विधा हो । सूत्रलेखनलाई एकप्रकारले काव्यमा मुक्तक वा हाइकुजस्तै मान्न पनि सकिन्छ । यसलाई अघि बढाउन सके यो अर्को प्राप्ति हुन सक्छ ।
नेपाली आख्यानमा लघुकथाको यात्रा निकै लामो भए पनि त्यो कथामै सीमित थियो । लघुकथा पढ्दा छोटो र सजिलोजस्तो लागे पनि लेख्न गाह्रो विधा हो । लामोमा मात्र भन्ने बानी परेका लेखकहरूका लागि लघुकथा चुनौती नै हुन सक्छ । यसलाई गोडमेल गर्न लघुकथा समाज नै स्थापना गरी यस विधालाई अधि बढाउन निकै काम भइरहेको पनि छ । लघुता नै लघुकथाको आफ्नो विशेषता हो । त्यसलाई त्यसको सीमाबाट बाहिर निकाल्ने काम खासै भएको देखिँदैन । त्यो सीमाबाट बाहिर निकाल्नु हुन्छ कि हुँदैन भन्ने पनि आन्तरिक संवादहरू हुन सक्छन् तर पहिलोपल्ट रवीन्द्रले त्यसलाई उपन्यासमा उभ्याएका छन् । विधागत उपलब्धिका आँखाले हेर्दा यो एउटा विशेष प्राप्ति पनि हो ।
लघुकथा विधालाई उपन्याससम्म पुर्‍याउने आँट गर्नु लेखकको साहस नै हो । यस्तो आँट धेरैअघि झापामा शिव प्रणतले गरेका थिए गजल काव्य लेखेर । त्यस बेलासम्म गजलमा काव्य लेखिन सक्छ भनेर कसैले सोचेका पनि थिएनन् होला । केही समय गजलमा काव्य हुन सक्छ कि सक्दैन भन्ने बहस पनि छेडिएको थियो । पछि गोपाल अश्कले गजलमा महाकाव्य नै पनि लेखेका थिए । प्रयोगमा आउनु आफैंमा साहसको काम त हुँदै हो, त्यसलाई स्तरीयतासहित ल्याउन सक्नु आफैंलाई ठूलो परीक्षा पनि हो । यस्ता धेरैजसो प्रयोग प्रयोगकर्तालाई नै चुनौती हुने गरेका पाइन्छन् । त्यस्तो चुनौती स्वीकार गर्न पछिल्लोपल्ट उभिएका छन् रवीन्द्र ।
एक सय अन्ठानब्बे पृष्ठभित्र अटाएका १ सय ६६ लघुकथाले बनिएको छ यो कृति । छोटोमा २२ शब्ददेखि लामोमा ३२४ शब्द सम्मका कथाहरू छन् । एउटा–एउटा मात्र पढे यस कृतिका सबै टुक्रा एक–एकवटा लघुकथा हुन् । क्रमैसँगले पढ्दै गए हरेक कथा उपन्यासिक आख्यानका भरिया हुन् । यस कृतिले लामा–लामा अध्यायहरूमा मात्र उपन्यास लेख्न सकिन्छ भन्ने मान्यतालाई दोस्रोपल्ट भत्काएको छ । पहिलोपल्ट यस्ता लघुपृष्ठहरूमा उपन्यास लेख्ने काम २०५० सालमा सञ्जीव उप्रेतीले ‘आलु, नौनी र कफी’ उपन्यास लेखेर पूरा गरिसकेका थिए तर त्यो उपन्यास लघुकथा शैलीको थिएन ।
कृतिको शिल्पपक्षको फरक विशेषता रहे पनि गुणवत्ताले उभिन नसके त्यसको खास अर्थ हुँदैन । समिरको यो कृति वैदेशिक रोजगारमा जानेहरूका पीडामाथि लेखिएका निकै कृतिहरूभन्दा फरक र विशेष छ । यसले बोकेको विषयवस्तु सुरुदेखि नै वियोगान्त छ । कृतिको नायक मरेको छ र मृत्युपछि उसले अनुभव गरेका कुराहरू नै सम्पूर्ण किताब हो । मृत्यु शब्द सुन्नासाथ मनमा जुन भय उत्पन्न हुने हो यस कृतिमा भयको त्यो रूप छैन बरु मृत्यु एक मनोरञ्जन बनेको छ । मृतकका माध्यमबाट समाजको ढोंगी चरित्र र परिवारको दुईधारे मानसिकताको उत्खनन भएको छ । मृत्यु आतंक हैन, अनुभव मात्र हो भन्ने अनौठो सन्देश पनि छ यसमा । निरपेक्ष भावको प्रस्तुतिले मृत्युमाथि हुने भयलाई एकदम नै सामान्यीकरण गरिएको छ । आफू मरेपछि परिवार र समाजले गर्ने अभिव्यक्ति र फोस्रो सहानुभूतिको क्रूर चित्रण पनि छ यहाँ । पुस्तकका हरेक टुक्राले फरक–फरक र पाठकले अनुमान गरेभन्दा भिन्दै कुराहरू टुक्कटुक्क भनेर पठनरुचिलाई बढाएको बढाएकै गर्छ ।
कृतिको विषयवस्तुले नै पाठकलाई सांख्यदर्शनतिर प्रवेश गराउँछ । जन्म र मृत्युको असमापक चक्रमा घुमिरहने जीवनविम्बले कृति रंगिएको छ । कृतिले शिवपुराण, विष्णुपुराण, गरुडपुराण, श्रीमद्भागवत् गीता, कुरान र बाइबलका आध्यात्मिक सांस्कृतिक विश्वासहरूलाई समातेर मृत्युपछिको पराकल्पनामा आधुनिक जीवनको संकटलाई नापेको छ । खासमा आजको हाम्रो जीवनसंघर्ष के हो र केका लागि ? हामीले हेर्ने गरेको जीवनचित्र कस्तो हो ? यो कथाले बोकेको दुःखको भारी नेपाली जीवनस्तरसँग मात्र सम्बन्धित छैन । नायकको लाससँगै सुताइएका अरू विदेशी लासहरूको पीडाका कथाले पनि पाठकलाई केही छिन भावुक बनाउँछ ।
जीवमा आत्मा हुन्छ र त्यसले मृत्युपछि पनि यस धराधाममा भइरहेका गतिविधिहरूलाई नजिकबाट देखिरहेको हुन्छ भन्ने पुनर्जन्मीय विश्वास र स्वैरकल्पनाको प्रयोग गर्दै समसामयिक जीवनका विसंगतिहरूलाई अत्यन्त मिहिन पाराले केलाइएको छ । हाम्रो देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक अनेक विसंगतिको ऐना हो यो कृति । वैदेशिक रोजगार नामको आकर्षक शब्दका पछि होमिने युवापुस्ताको कारुणिक चित्र हो यो कृति । कतै हँसाउने, कतै गम्भीर बनाउने र कतै रुवाउने यो उपन्यास नेपाली उपन्यास संसारमा फरक स्वादको विशेष कृति बनेको छ ।
लेखक आफैंले ती क्षेत्रहरूको स्थलगत भ्रमण तथा अध्ययन गरी लेखिएको यस कृतिमा अरबी प्रशासनिक र प्राविधिक कुराहरूलाई प्रामाणिक ढंगबाट प्रस्तुत गरिएकाले पनि कृतिको विश्वसनीयता बढेको छ । लेखक आफू स्वयं चिकित्सकसमेत भएकाले आधुनिक चिकित्सा पद्धतिका कुराहरूलाई सतर्कतापूर्वक समावेश गरिएकाले कृतिमा प्रश्न उठाउनुपर्ने त्यस्ता खासै ठाउँ भेटिएनन् ।
मृत्युका अनेक परिभाषा गर्नेहरू र मृत्युलाई सहज ढंगले लिनुपर्छ भनी स्वस्थ अवस्थामा आदर्श छाँट्नेहरूका पनि अन्तिम कालको बाँच्न चाहने छटपटी सबैभन्दा बढी त चिकित्सकहरूले नै देखेका हुन्छन् । त्यसको सुविधा पनि रवीन्द्रलाई छ । उनले त्यो अनुभव पनि पृष्ठैपिच्छे पोतेका छन् ।
कृतिको शीर्षक नै विम्बात्मक छ । मृत्युलाई हामी जीवनको अन्त्य भनेर बुझ्छौं तर लेखकले यहाँ मृत्युको पनि आयु तोकिदिएका छन् । यसअनुसार त मृत्युको आयु एकदम नै छोटो रहेछ । गरुडपुराणीय कर्मकाण्ड पद्धतिका आँखाले हेर्दा मृत्युको आयु त तेह्र दिन मात्र देखियो । तेह्र दिनपछि यसको यात्रा कि देवदूतका पछि कि यमदूतका पछि हुने रहेछ । यस लोकको मायामोहको सीमाभरि मात्र रहेछ मृत्युको आयु भनेको । आध्यात्मिक परम्पराका आँखाले जीवन र मृत्युबारे अध्ययन गर्न चाहनेहरूले यसमा साहित्यइतर विश्लेषण गर्ने प्रशस्त ठाउँ भेट्नेछन् । 

कोसेली

जेलबाहिरको डायरी

- रामजी दाहाल

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको तेस्रो डायरी बजारमा आएको छ । यसअघि ‘जेल जर्नल’ र ‘फेरि सुन्दरीजल’ प्रकाशित छन् । यी दुई जेलडायरी हुन् भने हालै प्रकाशनमा आएको जेलबाहिरको डायरी हो । २००८ देखि २०१३ सालसम्म हरेक दिन पुगेका देश, विदेशका सन्दर्भ, ती ठाउँमा भेटेका मानिस र तिनीहरूसँग भएका कुराकानीबरे लेखिएको पुस्तक हो ‘बीपी कोइरालाको डायरी’ । अंग्रेजी भाषामा लेखिएको डायरीको पाण्डुलिपि अनुवाद गरेर नेपाली पाठकमाझ ल्याइएको हो ।
राजा त्रिभुवनको निधन र महेन्द्रको उदयको समयको तस्बिर हो यो डायरी । लामो संघर्षपछि राणाबाट प्रजातन्त्रवादीको हातमा परेको देश फेरि महेन्द्रले परामर्श मण्डलको नाममा पुरातनवादी सोच भएका व्यक्तिको हातमा सुम्पेका थिए । जुन समयमा अनेक नाम गरेका राजनीतिक दलको जन्म भयो । कतिपय दल जसरी उदाएका थिए, पानीको फोका जसरी बिलाइहाले । नेपाली कांग्रेसले भने राष्ट्रिय पार्टीको ठोस स्वरूप यसै समयमा लिएको थियो ।
राणा शासनको चंगुलबाट भर्खरै स्वतन्त्र भएको नेपाललाई छिमेकीका नाताले आवश्यक सहयोग गर्नुको साटो नेपाललाई आफ्नो मुठ्ठीभित्र राख्नमै भारत केन्द्रित थियो । १८ वैशाख २००९ मा आफ्नो डायरीमा बीपी लेख्छन्, ‘भारत सरकारको खेल बुझेर नसकिने रहेछ ।’ उनको निष्कर्ष छ— नेपाललाई भारतको एउटा सानो कोलनीका रूपमा व्यवहार गरिँदै थियो । डायरी पढेपछि नेपालको राजनीतिमा देशी–विदेशी शक्तिहरू कुन हदसम्म खेल्दा रहेछन् भन्ने प्रस्ट हुन्छ । नेपालका प्रति भारतीयहरूले त्यस्तो व्यवहार देखाएका थिए भनेर बीपीले करिब ७ दशकअघि भनेको कुरा आजका दिनमा पनि उत्तिकै सान्दर्भिक छ ।
डायरी पढ्दा बीपीको राजनीतिक दौडधुप कतिसम्म थियो भन्ने पनि थाहा हुन्छ । डायरीमा नेपालका अधिकांश भाग र भारतको दिल्ली, पटना, बनारस, बम्बई, कलकत्ता, पटना, दार्जिलिङको प्रसंग बारम्बार उल्लेख गरिएको छ । उनी अधिकांश समय घर, परिवार बाहिर रहँदा पत्नी सुशीलालाई आर्थिक अभावलगायतका समस्याले कम्ती गाँजेको हुदैनथ्यो, जुन कुरा बीपीलाई पनि थाहा थियो । जस्तोसुकै प्रतिकूल अवस्थामा पनि कत्ति विचलित नभई अभियान अगाडि बढाइरहे । पीडा र गरिबीको पाटोलाई डायरीमा उनले एकाध प्रसंगमा छुस्स छोएका मात्र छन् ।
देशमा हुन गाइरहेको पहिलो संसदीय निर्वाचनलाई ध्यानमा राखेर बीपीले देश दौडाहा गर्दा उनीसँग तुलसी गिरी र विश्वबन्धु थापा पनि थिए । थापा र गिरीका बारेमा उनले डायरीमा उल्लेख गरेका छन् । तनहुँको बन्दीपुर भ्रमणमा रहेका बखत ४ चैत २०१२ मा बीपी लेख्छन्, ‘विश्वबन्धु र तुलसी मप्रति ठूलो निष्ठाका साथ समर्पित थिए । उनीहरूले पूर्ण रूपमा मेरो देखभाल गरे । तर मैले उनी दुईमा एउटा कमी देखें । उनीहरू भविष्यप्रति बढी नै चिन्तित थिए । ज्यादै नै महत्त्वाकांक्षी ।’ गिरी र थापाबारे बीपीको यो टिप्पणी पछि गएर सही साबित भयो । दुवैले पञ्चायत प्रवेश गरे ।
कास्कीको हंसपुर पुग्दा बीपीको स्वागतमा स्थानीयले बेलुकीपख गुरुङ केटीहरूको नाच देखाउँछन् । अध्ययनशील भएका कारण बीपीमा धेरै विषयको गहिरो ज्ञान थियो । नाच हेरेपछि डायरीमा उनी लेख्छन्, ‘नाचमा विविधता कम थियो । नाचको चाल अलि ढिला भयो, सुधार गर्न सकिने धेरै ठाउँ छ ।’ अर्को दिन तनहुँको रूपाकोट पुग्छन् । बीपी आएको खबर सुनेर स्थानीय नेता तथा कार्यकर्ता जम्मा हुन्छन् । मान्छेको उपस्थिति उनले सोचेजति ठूलो हुँदैन । सानो समूहलाई सम्बोधन गरेपछि डायरीमा उनको निष्कर्ष छ, ‘एउटा सानो समूहमा भेला गरेर सम्बोधन गर्दा बढी प्रभावशाली हुने रहेछ ।’ आज भने कार्यक्रममा जसरी भए पनि धेरै मान्छे उपस्थित गराउनुलाई नै विजय जसरी ठान्न थालिएको छ । अरू दलको त कुरा छोडौं, बीपीकै दल कांग्रेसका नेता यो होडमा छन् ।
देशव्यापी दौडानका क्रममा १६ माघ २००९ मा दाङमा पुग्छन् । जमिनदारहरूले भूमिहीन थारूमाथि गरेको शोषण देखेर उनको मन बेचैन हुन्छ । अनि लेख्छन्, ‘जमिनको स्वामित्वका आधारमा जमिनदारहरूको शोषणको अन्त्य गर्नुपर्छ ।’
यो डायरी पढ्दा बीपीको अध्ययनशीलताको पनि बोध हुन्छ । व्यस्तताले भ्याइनभ्याई हुँदा पनि उनी अलिकति फुर्सद मिल्यो कि किताब पढ्न सुरु गरिहाल्थे । यात्राका दौरान साहित्यिक र अन्तर्राष्ट्रिय राजनीतिक दर्शनका किताब पढेको प्रसंग उल्लेख गरेर कतिपय किताबका बारेमा उनले टिप्पणी पनि गरेका छन् । सार्त्रको ‘इन्टिमेसी’, वर्ड्सवर्थको ‘द इजिप्सियन’, फ्रान्स्वाँ मौरिएको ‘द लिटल मिजरी’, कोलिन्सको ‘द स्टोरी अफ डेड लियर्स’, एन्डरे गाइडको ‘इसाबेला’, पास्टोरलको ‘सिम्फोनी’, स्टिनवर्गको ‘अन द वर्कसप अफ रिभोल्युसन’, आर मार्टिन द गारको ‘समर १९१४’, मोपासाको ‘ए विमेन्स लाइफ’, एचलेम्बको ‘चार्लमेन’, मुनरोको ‘नोट अफ द भाइपर’ बारे उनले यसमा चर्चा गरेका छन् ।
डायरीको अन्तिम पाटोमा बीपीले साढे दुई महिना युरोप भ्रमणका क्रममा टेकेका मुलुक, भेटेका मानिस र देखेका ठाउँबारे उल्लेख गरेका छन् । बेलायतमा कलासम्बन्धी अध्ययन गरिरहेका कलाकार लैनसिंह बाङ्देलसँगको भेट रोचक लाग्छ । बाङ्देलसँगै बीपी कलाका लागि प्रख्यात विभिन्न संग्रहालयमा पुग्छन् । त्यसक्रममा पुगेको स्टेट ग्यालरीको डायरीमा खुबै चर्चा गरेका छन् । त्यहींबाट भ्यानगगको सनफ्लावर र ३८५३ किनेर ल्याएको उल्लेख गरेका छन् ।
अंग्रेजी भाषाको यो पाण्डुलिपि नेपाली भाषामा प्रकाशित गरेर प्रकाशक शिखा बुक्सले प्रशंसनीय काम गरेको छ । डायरी पढ्दै जाँदा कतिपय ठाउँमा चिप्लिएको प्रस्टै देखिन्छ । जस्तो, २५ फागुन २००८ मा कलकत्ताबाट दाजु मातृका, भाउजू (मातृकाप्रसाद कोइरालाकी श्रीमती) तथा भारतीय सेनाका परान्जपेसँग म काठमाडौंतिर लागें । काठमाडौंमा मैले सहमतिको सूत्रका सम्बन्धमा साथीहरूसँग छलफल गरें भनेर लेखिएको छ । तर भोलिपल्ट २६ फागुन २००८ मा कलकत्तामा सुशीला र बच्चाका साथमा पूर्ण आराम गरें भनिएको छ । तिथिमिति र इतिहासबारे अनुवादमा प्रशस्त कमजोरी देखिन्छन् । दाँतमा लाग्ने यस्ता ढुंगालाई छल्ने कला वा चपाउने सामर्थ्य हुनेका लागि यो डायरी राम्रो खुराक हो ।

कोसेली

इतिहासका साक्षी

- गंगा बीसी

कथा जति पुराना हुँदै जान्छन्, त्यति रोचक । कथा सबैसँग हुन्छन् तर भन्ने अवसर कमैलाई मात्र प्राप्त हुन्छ । यी हजुरआमा भाग्यमानी हुन्, जसलाई खोज्दै लेखक पुग्छिन् । तीनपुस्ते अनुभव उतार्छिन् । यी प्रतिनिधि पात्र हुन् । उनीहरूले समाजको पूर्ण प्रतिनिधित्व गर्दैनन् । छानिएका हजुरआमाका मुखबाट आएका इतिहासका कथाले त्यसबेलाको समाजको आधाआधीजस्तो चित्र दिन्छ किनकि उनीहरूले देखेको र भोगेको समाजभन्दा बाहिर अर्को समाज थियो र छ । तैपनि यति भन्न सकिन्छ— मनमै बिलाएर जाने कथा पुस्तक र डिजिटल दुनियाँमा रहनु महत्त्वपूर्ण उपलब्धि हो ।
करिब ८० वर्ष नाघेका हजुरआमाका कथा मात्र होइनन्, संघर्षका गाथा हुन् । जो ८० वर्ष बाँचे उनीहरू आफैंमा भाग्यमानी महिला हुन् । त्यतिबेला नेपालीको औसत आयु ५० वर्ष पनि थिएन । कथा भन्ने आमाहरूले अझै पनि सक्रिय जीवन बिताइरहेका छन् । ती हजुरआमाहरूले परिवारको माया पाएका छन् र माया दिएका छन् । उनीहरूले घरमा आफूले भोगेका कथाहरू आफ्ना छोराछोरी र नातिनातिनीहरूलाई सुनाउँदै होलान् । आफ्ना कथा लेखकलाई सुनाउन पाउनु हजुरआमाहरूका लागि मौका हो भने ती कथा घण्टौं सुनेर पुस्तकका रुपमा तयार पार्नु लेखकको धीरता ।
पत्रकार अमृता लम्सालको ‘हजुरआमाका कथा’ ले काठमाडौं उपत्यका र नेपालको पूर्वी भाग तथा दार्जिलिङको तत्कालीन समाजबारे धेरै कुरा भन्छ ।
महिला समानताको मुद्दा अहिले टड्कारो रूपमा उठेको छ । आजभन्दा ८० वर्षपहिलेको समाजमा भने लैंगिक असमानता र अन्धविश्वासको जाँतो कल्पना गरेभन्दा चर्को थियो, जसमा महिलाहरू पिसिन्थे । देशका कति भागमा अझै पनि त्यसको झलक देख्न सकिन्छ । लेखकले हजुरआमाले त्यसबेला भोगेको कठिन अवस्था र गरेका संघर्षको कथा जसरी उतारेकी छन्, अहिले पनि खासगरी पश्चिम नेपालका दुर्गम क्षेत्रका महिलाले भोग्दै छन् । हुन त समाज आफैं परिवर्तनशील छ, समयको गतिसँगै परिवर्तन भएको समाज पनि बदलिन्छ । मुख्य कुरा विगतको व्याख्या गर्नु मात्र होइन, मुख्य कुरा समाजलाई बदल्न कसले कति भूमिका खेल्यो भन्ने हो ।
समयको गतिको प्रवाहले मान्छेलाई बदल्छ भन्ने उदाहरण संग्रहमा आएका हजुरआमाहरू हुन् । कुनै बेला आफ्नो बुझाइमा कट्टर हजुरआमाहरू समयसँगै बदलिएका छन् ।
आफ्नी सासूबाट पिल्सिएका हजुरआमा आफ्ना बुहारीलाई छोरी समान अवसर दिन राजी भए । यो समयले बदलेको मनस्थिति हो । सन्देश दिएका छन्— आफूले भागेको दुःखबाट शिक्षा लिएर भावी पुस्ताका लागि सुखद आशीर्वाद दिनुपर्छ । हजुरआमाहरूको कथा आफैंमा इतिहास हो । त्यो इतिहास कतैबाट सन्दर्भ सामग्रीका रूपमा आएको नभई पहिलोचाटि उनीहरूबाट मुखरित भएको हो । हजुरआमाहरूले भनेका सबै तिथिमिति तलमाथि परेको हुन सक्छ । तर यसमा आएका कुराहरूले त्यसबेला खासगरी महिलामाथि समाजको दृष्टि झल्किन्छ ।
असी वर्षअघि महिलाले पढ्ने अवसर पाउनु दुर्लभ थियो । त्यो सुविधा काठमाडौं उपत्यकाबाहिर थिएन । त्यो बेलामा काठमाडौंमा खुलेका स्कुलमा पढ्ने अवसर पाएका हजुरआमाले विभेदबीच पनि राम्रो अवसर पाए । समाजको संरचनाको बार नाघेर आफ्ना छोरीहरूलाई स्कुल पढाउने अभिभावक नमुना हुन् । जतिबेला राज्यमा पहुँच भएका खासखास परिवारका छोरीहरूले मात्र पढ्ने अवसर पाउँथे । हजुरआमाका कथामा यस्ता केही पात्र छन् । यसमा पहिलोपटक ब्राह्मण परिवारले हलो जातेका परिवारको बुहारीको कथा छ । लमजुङकी मित्रकुमारी अधिकारीको परिवारले हलो जोतेकै कारण भान्साबाट जात काढिएको थियो । २००६ साल साउन १ गते मित्रकुमारीका ससुराले गाउमा हलो जोतेपछि उनको परिवारले सामाजिक बहिष्कार गरेको उनले सुनाएकी छन् । यसलाई ‘हलो क्रान्ति’ पनि भनिन्छ ।
दार्जिलिङमा जन्मिएकी रत्ना राई चर्चित साहित्यकार शंकर लामिछानेकी पत्नी हुन् । लामिछाने परिवारसँग कुरा नमिलेपछि उनी अलग भइन् । तर उनको संघर्ष जारी रह्यो । उनलाई आफ्नो भाग्यप्रति कुनै गुनासो छैन । भन्छिन्, ‘जुन वर्तमान छ, त्यसलाई राम्रोसँग सदुपयोग गर्नुपर्छ । अरूलाई खुसी दिन सकियो भने खुसी प्राप्त हुन्छ ।’
रजिया बेगम अर्की हजुरआमा हुन्, जसको नेपालका चर्चित क्याटरिङ व्यवसायी बीएल शर्मासँग विवाह भयो तर जीवनभर टिकेन । उनको यात्रा भने जारी रह्यो र अहिले पनि अघि बढिरहेको छ । शर्मासँग सम्बन्धविच्छेद भएपछि आफ्नो स्वाभिमानलाई जोगाइराखिन्, सायद उनको महानता पनि त्यही हो । लेखक अमृता लम्साल उनीबारे भन्छिन्, रजिया बेगमको सिन्ड्र्र्र्र्रेला मोमेन्ट छुटेको धेरै वर्ष भइसक्यो तर पनि उनको स्वाभिमानमा अलिकति पनि आँच आएको छैन । चर्चित गायिका शान्ति ठटाल दार्जिलिङमा जन्मिए पनि उनको कार्यक्षेत्र नेपाल बन्यो । उनको संगीतको संघर्षको कथा सुनाएकी छन् । संगीतमा लाग्दालाग्दै विवाह गर्न भुलेकी ठटालको कथा रोचक छ । केही हजुरआमाका छोराछोरी समाजमा चिनिएका छन् । लेखकले समाजमा चिनिएका छोराछोरीका आमा चयन गरेकी छन् । कुराकानीका दौरानमा सजिलो होस् भनेर समाजमा एउटा पहिचान बनाइसकेका छोराछोरीका आमा चयन गरेको हुनुपपर्छ ।
हजुरआमाका कथामा २३ हजुरआमाका अनुभव र संघर्ष कथा छन् । तीन नातिनी पुस्ताको अनुभव यसमा समेटिएको छ ।
हजुरआमाका सबै कथा सलल बगेका छैनन् । त्यस बेलाका कथा अहिलेको सन्दर्भमा जोड्न खोजिएको छ । तर त्यो जीवन्त बनेको छैन । हजुरआमाको आआफ्नो बोल्ने शैली र लवज हुन्छ । लेखकेले त्यो शैली र लवजलाई उतार्न चुकेकी छन् । भाषा शैलीलाई उनीहरूकै लवजमा राख्न सकेको भए पढ्न रोचक हुन सक्थ्यो । हजुरआमाका कथा राजधानीकेन्द्रित छन् । लेखक आफैंले पनि चाहँदाचाहँदै पनि उपत्यकाबाहिर गएर हजुरआमाका कथा संकलन गर्न नसकेको भूमिकामा उल्लेख गरेकी छन् । ‘यो पुस्तकको उद्देश्य घरमा बसेर परिवारका लागि श्रम र समय खर्चिएका तर सामाजिक पहिचान नपाएका हजुरआमा उमेरका महिलाले भोगेका अनुभव, समय र समाजका कुरा समकालीन पुस्ताका लागि पस्किनु हो,’ लेखकले पुस्तक लेख्नुको उद्देश्यबारे भनेकी छन् ।
यो पुस्तक पढ्दा लाग्छ, हजुरआमाहरूको यो कथा पुरानो पुस्तालाई एउटा सम्मान हो । ती हजुरआमालाई नमन जसले भावी पुस्ताका लागि अथक संघर्ष गरेर यहाँसम्म ल्याए । पुस्तकमा नअटाएका हजुरआमाहरूलाई पनि नमन, जसले आफूले दुःख भोगेर सन्तानलाई सुख दिए । आफू काँडाघारीमा हिँडेर भए पनि भावी पुस्तालाई सरल बाटो देखाउने प्रयास गरेका छन् ।

Page 23
कोसेली

कथा रंगशालाको

काठमाडौं वास्तवमै कसरी फेरिएको छ, त्यसको साक्षी पनि हो– दशरथ रंगशाला । रंगशालाको उत्तरी प्यारापिटतर्फ बाँसको झ्याङ थियो । अनि फुटबल मैदान त सानोतिनो पोखरी नै थियो ।
- हिमेश

कुनै समय भीमसेन थापा निकै शक्तिशाली थिए । नेपालकै इतिहासमा उनी जत्तिको शक्तिशाली अरू विरलै भए । तर उनको अन्त्य निकै दुःखद रह्यो । विष्णुमती मन्दिरको बगरमा उनको जिउँदो शरीरलाई फ्यालिएको थियो । आत्महत्याको प्रयास गरेका भीमसेन थापाले नौ दिन त्यहीं मृत्यु आत्मसात् गर्न संघर्ष गरे । अहिले यो ठाउँ आधुनिक त्रिपुरेश्वरको छेउमै छ ।
कुनै समय अहिलेको दशरथ रंगशाला रहेको ठाउँसम्म पनि मसानघाटकै रूपमा थियो । त्यसैले भन्ने गरिन्थ्यो— त्यो क्षेत्रबाट सकेसम्म नजानू । कहिले के अनिष्ट हुन सक्छ, कसलाई के थाहा ? भीमसेन थापाको छोटो प्रसंग किन भन्दा उनले जहाँनिर अन्तिम पटक श्वास फेरे, अब त्यो त्यस्तो रहेन । न त त्यस वरिपरिको ठाउँ नै । पुराना ती कुरा सुनाउँदा कथाजस्तै लाग्न सक्छ, कसैका लागि यी सबै हावादारी कुरा नै हुँदो हो । तर यही ठाउँ र यिनै हल्लाबीच अहिले त्यहाँ दशरथ रंगशाला उभिएको छ र यसले पनि देखेको छ, इतिहासका एकपछि अर्को परिवर्तन ।
काठमाडौं वास्तवमै कसरी फेरिएको छ, त्यसको साक्षी पनि हो— दशरथ रंगशाला । रंगशालाको उत्तरी प्यारापिटतर्फ बाँसको झ्याङ थियो । अनि फुटबल मैदान त सानोतिनो पोखरी नै थियो । माथिबाट त्यहाँ पानी बगिरहेको पनि हुन्थ्यो । पोखरी भएपछि त्यससँग जोडिएका कथा पनि त हुने नै भए । भन्ने गरिन्छ, त्यो पोखरीको नजिक गयो भने पोखरीले तान्छ । तानेर पोखरीले खाने पनि गर्छ । अनि कोही किन त्यो पोखरीको छेउमै जान्छ त ?
नेपालमा जे जति हुन्छन्, ती सबै प्रायः राजदरबार र त्यसका परिवारसँग जोडिन्छन् । अहिले टुँडिखेललाई पूर्ववतः स्वरूपमै ल्याउने एकखाले आन्दोलन चलिरहेको छ । फेरि कुनै समय यो टुँडिखेल यति विशाल थियो कि यसलाई एसियाकै सबैभन्दा ठूलो चौर मानिएको थियो । यही टुँडिखेल कसरी टुक्राटुक्रा हुँदै अतिक्रमणको सिकार हुँदै गयो, त्यसको पनि आफ्नै लामो कथा छ । दशरथ रंगशालाले रहेको ठाउँ पनि त टुँडिखेलसँगै जोडिन्छ । यो खासमा सानो टुँडिखेल ठाउँसँगै जोडिएको छ । महेन्द्रको राज्याभिषेक हुँदा त्यसै अवसर छोपेर ०१३ सालतिर केही खेलको आयोजना भएको रहेछ । ती खेल आयोजना गर्ने निर्णय त भए, तर गर्ने ठाउँ भने थिएन । त्यसैले यही त्रिपुरेश्वरको क्षेत्रलाई ठोकठाक पारेर खेल्नलायक बनाइयो । समयसमयमा यसलाई अझ राम्रो हुनुपर्छ भनेर काम पनि भए तर त्यतिले कहिले पनि ठोस गति लिन सकेन । वीरेन्द्र राजा हुने भएपछि भने बल्लतल्ल रंगशाला बन्ने भयो ।
हुन पनि रंगशालाको अहिलेको वास्तविक स्वरूप लिन थालेको ०३१ सालतिर नै हो । सन् १९८४ मा यही दशरथ रंगशालामा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना भयो । यसबीच एउटा अर्को ठूलो घटना पनि भयो, दशरथ रंगशालामै । यही घटनाका कारण कहीं कतै रंगशालामा ठूलो दुर्घटना भयो र मान्छे मरे भने दशरथ रंगशालाको नाम विश्व समाचारमा छाइहाल्छ । आखिरमा यो रंगशालाले ७३ जना मान्छेको ज्यान खाएको छ, ०४४ सालमा । यो घटनालाई फेरि एकपल्ट सम्झदा केही फरक पर्दैन । त्रिभुवन च्यालेन्ज सिल्डको फाइनलमा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्त जोद्दा भिडेका थिए, खेलमै क्रममा ठूलो हावाहुरी आयो । त्यसबाट बच्न भाग्ने क्रममा भएको भागदौडमा धेरै फुटबल प्रेमीले आफ्नो ज्यान गुमाए । विश्वकै ठूलठूला रंगशाला दुर्घटनामध्ये सबैभन्दा गम्भीर १० मा रंगशालाको यो काण्ड पनि आउने गर्छ । अनि सन् १९९९ मा यही खेलकुदको आठौं संस्करण पनि यहीं भयो । यही बेला यो रंगशालाले आधुनिक स्वरूप पायो । त्यति बेला न हो– दशरथ रंगशालामा सिन्थेटिक ट्र्यक ओछ्याइएको । यसै कारण रंगशालाको प्यारापिट पनि खुम्चियो र दर्शक क्षमता पछि घट्यो ।
फ्लड लाइट्स राखिएको पनि त्यही बेला हो । यो सबैको फेरि अहिले चर्चा किन भन्दा दशरथ रंगशालाले फेरि एकपल्ट ठूलै परिवर्तनबाट गुज्रिरहेको छ । हुनेछ अथवा छैन, त्यो आफ्नै ठाउँमा छ तर १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि फेरि एकपल्ट दशरथ रंगशालाले नयाँ रूप पाउँदै छ । त्यसभन्दा अगाडि नेपालले विश्वकप छनोटमा कुवेतको सामना गर्ने भनिएको थियो, अब त्यो पनि हुनेछैन । खासमा दशरथ रंगशाला बहुउद्देश्ययी प्रयोगका लागि बनाइएको छ । तर यसको मुख्य विशेषता भनेको त यहाँ हुने फुटबल न हो । नेपाली खेलकुद भन्नु नै दशरथ रंगशाला हो । अनि नेपाली फुटबलको पर्याय नै दशरथ रंगशाला हो । यहाँको मैदानमा कुन फुटबल प्रतियोगिता मात्र भएन, विश्वकप र ओलम्पिक छनोटदेखि सागसम्म । एएफसी च्यालेन्जकपदेखि एएफसी प्रेसिडेन्ट्सकपसम्म पनि । त्रिभुवन च्यालेन्ज सिल्ड र बर्थकपजस्ता राजासँग जोडिएका प्रतियोगितादेखि गणतन्त्रसँग जोडिएको राष्ट्रपति कपसम्म पनि ।
सबैभन्दा बढी त सहिदसँग जोडिएको लिग नै भयो । लिगकै बेला पनि के मात्र देखिएन र ? दर्शकको उपद्रोदेखि खेलाडी र टिमका नाटकसम्म पनि । अन्धविश्वासी खेलाडी र क्लबका पदाधिकारी रंगशालाभित्र छिर्न पनि अनेक अनेक प्रपञ्च गर्थे । यो ढोकाबाट गए यस्तो हुन्छ, नगए यस्तो हुन्छ भन्ने विश्वास पहिल्यै हुन्थ्यो । धेरैको के विश्वास थियो भने उत्तरतिरको पोस्टमा बढी गोल हुन्छ । अब यस्तो किन हुन्छ, कसलाई के थाहा ? मसानघाट नजिक भएर पो कि ?
छ वर्षअगाडिको भूकम्पले पूरा काठमाडौंसँगै दशरथ रंगशालालाई पनि नराम्रोसँग प्रभावित पारेको थियो । अझ भूकम्प आएकै दिन यहाँ यू १४ गर्ल्स फाइनल खेल थियो, बंगलादेश र नेपालबीच । त्यति बेला दुवै टिमका खेलाडी वार्म अप गर्दै थिए, एकाएक भूकम्प आयो । खेलाडीले त्यति बेला रंगशालाको मैदान गज्जबको चहलपहल देखेका थिए । मैदान त समुद्रमा आउने छालजस्तै तलमाथि भइरहेको थियो । भूकम्पछि त दशरथ रंगशाला केही समयका लागि धेरैको आश्रयस्थल भयो । त्यो मैदान खेल्नयोग्य भएन । न त रंगशालाका दर्शकदीर्घाहरू भार थाम्नयोग्य भए । तिनै भीमसेन थापालाई जस्तो लामो समय दशरथ रंगशालालाई बाँच्नु र मर्नुको स्थितिमा छोडियो । एक समय दशरथ रंगशाला पुग्दा भर्खर युद्ध सकिएर त्यसले तहसनहस बनाएको ठाउँजस्तै थियो, यो । जति बेला नेपालले कुवेतको सामना गर्नेछ, त्यति बेला दशरथ रंगशालाको इतिहासमा अर्को पाना थपिनेछ । अहिले फेरि एकपल्ट दशरथ रंगशालाले पुनर्जीवन पाउनेछ ।
भूकम्प गएको पनि छ वर्ष भइसकेको छ । यसबीच दशरथ रंगशालामा खेल्दै नखेलेका खेलाडी पनि धेरै निस्किसके । प्रशिक्षक पनि धेरै भए, दशरथ रंगशालाको अनुभव नबटुलेका । खेल पत्रकारमै पनि त्यस्तो नयाँ पुस्ता आइसक्यो, जसले अहिलेसम्म दशरथ रंगशालामा गएर रिपोर्टिङ गरेको छैन । तिनै पत्रकारले पनि सोध्दा हुन्, दशरथ रंगशालाबारे यस्ता कथा कसरी बुन्न सकिएको होला ? जहाँनिर गएर वर्षौं प्रत्येक दिनजस्तो रिपोर्टिङ गरियो, त्यसबारे धेरै कुरा किन थाहा नहोस् त ?
खासमा दशरथ रंगशाला वास्तवमै गज्जब छ, अझ रहस्यमय छ भन्दा पनि हुन्छ । नेपाली खेलकुद क्षेत्रलाई माया गर्नुपर्छ, त्यसले यस्ता सबैलाई आफूतिर तारिहेको हुन्छ । आखिरमा त्यो दिन पनि थियो, जति बेला लिगको खेलमा टिकट काटेर खेल हेर्न आएका दर्शकको संख्याभन्दा रिपोर्टिङ गर्न आएका पत्रकारको संख्या बढी हुन्थ्यो । यस्तो भन्दा बढी पनि हुन्न होला— दशरथ रंगशालामा नखेलेका के खेलाडी ? अनि त्यहाँ रिपोर्टिङ नगरेका के खेल पत्रकार ?


twitter:@himeshratna

कोसेली

पितृसत्ता नै बोक्ने ?

- सुशीला शर्मा

एक दिन बिहानै टेम्पोमा चढियो अफिस जान । यात्रा गर्दा माइक्रो बसभन्दाबढी टेम्पो नै चढ्छु । त्यसमा पनि महिलाले दक्षताका साथ टेम्पो हाँकेको एकदमै राम्रो लाग्छ । यसले क्षमता बढाउन र आर्थिक रूपमा सबल हुन टेवा दिन्छ । यस्ता पेसा व्यवसायमा संलग्न हुँदा एक हिसाबले महिलालाई सशक्त पार्छ ।
सवारी चालकको पेसा एक आत्मविश्वासी, निडर, सक्षम खालको पेसा हो । एउटा दक्ष सवारी चालकले दैनिक सयौं यात्रीलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउँछन् । महिला सवारी चालकहरूले पनि उस्तै सुरक्षित तरिकाले यात्रुहरूलाई गन्तव्यमा ओसारपसार गराइराखेका हुन्छन् । तर हाम्रो समाजमा, सवारीका अखडाहरूमा महिला चालकहरूप्रतिको धारणा नकारात्मक छ । उनीहरूलाई गरिने बोलीव्यवहार भद्दा खालका लाग्छन् कहिलेकाहीँ ।
प्रायः महिला सवारी चालकले नियममा सवारी हाँक्ने, यात्रुहरूसँग खुसमिजासले बोल्ने, अन्जान यात्रुलाई सही गन्तव्यबारे बताइदिने गरेको पाउँछु । अहिले गर्न लागेको कुरा भने अलिक भिन्न छ ।
म जुन टेम्पोमा चढेकी थिएँ, त्यो टेम्पोमा अन्तकतैबाट एकजना महिला पनि चढेर आएकी थिइन् । उनी हेर्दा निराश र उदास देखिन्थिन् । उनी कुनै चिन्ता या सुर्तामा थिइन्, उनको भावभंगिमाले देखाउँथ्यो । टेम्पो निश्चित गन्तव्यमा रोक्दै यात्रु ओराल्दै, चढाउँदै अगाडि बढिरहेको थियो । जब टेम्पो जावलाखेल पुग्यो तब मात्र ती महिलाले भनिन्, ‘मलाई लगनखेलमा रोकिदिनुस् है ।’
टेम्पो चालक महिलाले ‘लगनखेल त अघि नै गइसक्यो, किन नओर्लेको ?’ भनेर झपारिन् । ती महिलाले ‘ल हेर, मलाई यहाँ कस्तो आपत् परिरहेछ, झन् केके आइलागेको’ भन्दै ओर्लेर हिँड्न सुरु गरिन् । टेम्पो चालकले भनिन्, ‘ल भाडा देऊ, अरू कुरा थाहा छैन ।’
ती यात्रु महिलाले भनिन्, ‘मसँग पैसा छैन, यहाँ मलाई कस्तो दुःख परिरहेछ ।’ यात्रु महिलाको कुरा सुनेर टेम्पो चालक निकै रिसाइन् । विवाद नचर्कियोस् भनेर मैले भनें, ‘ल बैनी, उहाँको भाडा म तिरिदिन्छु जाऊँ ।’ तर ती टेम्पो चालक महिलाले पैसा नतिरी जाने यात्री महिलालाई तथानाम गाली गरिन्, ‘...यति जनासँग... केके गरेर आको होला अनि अहिले टेम्पो चढ्दा पैसा छैन भन्छ ।’ यति सुनेपछि असहज’ जस्तो लागेर सोधें, ‘के तपाईं उहाँलाई चिन्नुहुन्छ र ?’ उनले बर्बराउँदै भनिन्, ‘मान्छे हेर्दै थाहा भइहाल्छ नि । हेर्नु न कस्ती छे, लुगाको गति कस्तो छ । भर्खर सुतेर उठेको जस्तो... ।’
ती महिला चालकको टेम्पोमा धेरैपटक चढिसकेकी छु । बेलाबेला उनलाई पनि निकै तनाब र रिसाइरहेको देखेकी छु । कहिलेकाहीं फोनमा, सायद उनको श्रीमान्सँग झगडा गरिरहेको पनि पाइन्छ । आज उनले ती यात्री महिलालाई गाली गरिन् । उनले गाली गरेको दृश्य अरू यात्रीले देखेका सुनेका थिए तर सबैले नदेखे नसुनेझैं गरे ।
हुन त यात्रीको काम यात्रा गर्ने हो, म यात्रीमात्रै भएर बस्न सकिनँ । मेरो स्वभाव पनि अग्रसर भएर बोलिहाल्ने, कुनै विवादमा पक्ष लिइहाल्ने प्रकृतिको होइन । तर यहाँ चालक महिलाले यात्री महिलालाई गरेको खिसीट्युरी र अपमानजनक आक्षेपले भने मन अमिलो बनायो ।
धेरै नबोले पनि ती महिलाको पक्षमा केही बोल्नुपर्‍यो, ‘उनलाई केही मानसिक समस्या परेको, पीर परेको पनि हुन सक्छ । कहिलेकाहीं सोच्दासोच्दै बाटो बिर्सन पनि सक्छ ।’ मैले यति मात्रै के बोलेकी थिएँ, ती चालक महिलाले कडा आरोप लगाइन्, ‘केको मानसिक समस्या हुनु नि ? धेरै जनासँग शारीरिक सम्बन्ध राखेर (उनको भाषा अर्कै थियो, मलाई त्यो शब्द राख्न मन लागेन) त्यस्तो भाको ।’
म निःशब्द भएँ उनको नकारात्मकता मिसिएको आक्रोष देखेर । अब म धेरै बोलिनँ चालकसँग । मेरो गन्तव्य पनि आइसकेको थियो । म आफ्नो र अघि झरेकी महिलाको समेत भाडा तिरेर टेम्पोबाट झरेँ ।
मनमा कुरा खेलिरह्यो— हामी मान्छे अरूबारे कति छिटो अनुमान लगाउँछौं, मनपरी धारणा बनाउँछौँ, अझ गाली पनि गर्छौं, रिसाउँदै । वस्तुगत परिस्थिति नबुझी कुनै पनि मान्छेलाई ‘जजमेन्ट’ गर्ने अनुमान सतही हुन सक्छ । हामीले जन्मँदै यस्ता सोचाइ लिएर आएका त होइनौं, हुर्कंदै गर्दा हाम्रो जात व्यवस्था, लैंगिक द्वेष र उचनिचको सामाजिकीकरणले जजमेन्ट गरिरहेको हुन्छ ।
केही दशकयता हाम्रो मस्तिष्क निकै सतही र नकारात्मक बनेको । सामाजिक, सांस्कृतिक र पारिवारिक रूपमा आएका विखण्डन तथा व्यक्त हुने तिक्तता र वितृष्णा नै यसका उदाहरण हुन् । झन् नेपाली समाजमा महिलाहरूको चौघेरो सीमित छ । विविधतापूर्ण भावनालाई सहजताका साथ स्वीकार गर्न, घुलमिल हुन र फराकिलो दृष्टिकोण अपनाउन चिन्तन, मनन र अध्ययनको खाँचो पर्छ, जुन महिलाहरूले विरलै पाउँछन् । पितृसत्ताले ‘महिलाको शत्रु महिला हो’,‘पोथी बासेको’ जस्तो पगरी गुथाएर महिलाहरूलाई मौनताको संस्कृतिमा हुर्काएकाले पुरुषको तुलनामा महिलाहरूले कतिपय मामिलामा साँघुरा घेरा नाघ्न सकेका छैनन् ।
ती टेम्पो चालक महिला आफैं पनि पितृसत्ताबाट पीडित भइरहेको, अनगिन्ती पारिवारिक र सामाजिक समस्याबाट गुज्रिरहेको हुन सक्छिन्, हामी पनि कैयौं अप्ठ्यारा परिस्थितिमा रुमल्लिइरहेका छौं । यस्ता दैनिक समस्याले हामीहरूलाई साँच्चैको मानसिक रूपमा विचलित बनाइराखेको हुन्छ । २१ औं शताब्दीमा पनि हामी नेपाली महिलाहरू सामन्ती संस्कृति र पितृसत्ताबाट आक्रान्त छौं । मानसिक र शारीरिक रूपमा अस्वस्थ भए पनि तत्काल उपचार गर्ने संरचनामा पहुँच कम छ । हाम्रा मानसिक अवस्थाकै कारण हाम्रो अनुहार र लवाइखवाइ पनि बिग्रिराखेको हुन पनि सक्छ ।
यस्तो अवस्थामा सुनेका कुराको भरमा, झुलुक्क देखेका बाहिरी आवरणको आधारमा संगतै नगरी, वास्तविक जीवनको जानकारी नै नभई तुरुन्तै धारणा र अनुमान लगाउनमा हामी खप्पिस र अनुभवी छौंंंं । यस्तो सामाजिक अविकास, अचेतना र पछौटेपनका कारण हामी उत्पीडित महिलाले उत्पीडनमा परेकी अरू महिलालाई नानाथरी शंका–उपशंका गर्दै आरोप लगाउनसम्म पुग्छौं ।
यी सबै कुराले फेरि पनि पितृसत्तालाई नै फाइदा दिइराखेको त छैन ? महिलाका बाहिरी आवरण हेर्दै मनगढन्ते विचार बनाउँदा पुरुष प्रभुत्वलाई नै टेवा दिइरहेका त छैनौं ? पितृसत्ताको अचानोमा पिल्सिएका महिलाहरूकै घाउमा नुनचुक दलेर मर्दवादको आँत शीतल बनाउने काम त गरिराखेको छैनौं ? यस्ता अनेक प्रश्नबारे विचारविमर्श हुनु जरुरी छ ।
यो यात्राको सन्दर्भ त सानो उदाहरण मात्र हो तर आमरूपमा महिलाहरूप्रति गरिने व्यवहार यस्तै नै छ । ती दुई महिलामा पनि एउटी अलि सक्षम छिन् आर्थिक रूपमा । अरूलाई केही भन्न सक्ने छिन् अलि थर्काउन पनि । त्यस्तै परे आइलाग्नेमाथि जाइलाग्न पनि सक्ने देखिन्छिन् । सायद उनले गरेका संघर्षको क्रममा पुरुष सहकर्मीले गर्ने हेला, गालीगलौज, व्यंग्यलाई सामना गर्न आफूलाई यस्तो बनाइन् । यो आवश्यक पनि हुन सक्छ उनका लागि । तर आफूमाथि गरिएको उत्पीडन र अपमानको साटो आफूजस्तै अर्को एक अनजान महिलाप्रतिको अड्कल कत्तिको उचित होला ? टेम्पो चालक महिला थाहै नपाई अन्ततः पितृसत्ताकै बाहक बनिन्, जुन वर्तमान संरचना र संस्कृतिले खोज्छन् ।
गर्नुपर्ने त उत्पीडनका माखेसाङ्लोमा बाँधिएका अनगिन्ती महिलाबीच एकअर्कालाई समस्यामा परेका बेला मल्हमपट्टी लगाउने हो, हातेमालो गर्दै सघाउने हो । त्यत्ति गर्न सक्दा पनि महिलामहिलाबीच सम्मान र सहकार्य बढ्थ्यो अनि सिंगो परिवार र समाज नै सुन्दर र शान्त राख्न मद्दत पुग्थ्यो कि ?

Page 24
कोसेली

‘दुई थोपा’ जीवन

- गोकर्ण गौतम

चिकित्सकहरू भन्छन्, ‘एसिडको दुःखाइ असीमित हुन्छ ।’ गणितको भाषामा भन्दा ‘इन्फिनिटिभ’ । साढे पाँच वर्षदेखि यस्तै अवर्णनीय पीडाको सामना गरिरहेकी छन्, विन्दावासिनी कंसाकार । ०७० वैशाख ९ हेटौंडास्थित आफ्नै घरमा उनीमाथि एसिड प्रहार भएको थियो ।
शारीरिक रापभन्दा कम कष्टकर छैन, न्याय नपाउँदाको मानसिक ताप । कसैको प्रेम प्रस्ताव अस्वीकार गर्नु गल्ती हो र ? हो भने उनको ‘गल्ती’ त्यति हो, उनीमाथि तेजाब खनाउनुको । त्यो पनि अरू होइन, उनले दाई मान्नेले । विन्दावासिनीकी फुपूकी छोराका साथी थिए, दिलीप राजकेशरी । जो एसिड हान्नासाथ फरार भएको भयै गरे ।
यो दोहोरो चोटले कति पोल्दो हो ? दुई वर्षअघि विन्दावासिनीसँग कुरा भएको मेरो । तेजाबले शरीर जले पनि अपराधीलाई सजाय दिलाउने उनको दृढता जलेको थिएन, धरमराएको पक्कै थियो । उनले भनेकी थिइन्, ‘त्यो समातिए मेरो दुःखाइ मत्थर हुन्थ्यो । मलाई अरू केही चाहिन्न, जसरी हुन्छ, त्योसँग बदला लिनु छ, त्यसलाई पश्चत्तापमा जलाउनु छ । त्यसैले अन्तिम श्वास रहेसम्म त्यसलाई पक्राउ गर्न प्रहरीकहाँ धाइरहन्छु ।’
विन्दावासिनीको त्यो नियमित खबरदारी कामयाब भएको छ । नोभेम्बर १ मा राजकेशरी समातिए । उनी भारत गोरखपुर स्थायी निवासी हुन् । उतै लुक्दै आएका थिए । नेपाल पसेको विशेष सूचनापछि मकवानपुर र बाराको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गर्‍यो । विन्दावासिनी भन्छिन्, ‘अब कम्तीमा अरूबाट सहानुभूतिको शब्द सुन्नु पर्दैन, अपराधी पक्रन नसकेकोमा मलाई ग्लानिबोध हुन्न र एक्लै बसेर रुँदिनँ ।’
२० वर्षमा एसिडबाट उनले बाँच्न र न्याय पाउन गरेको संघर्षको कथा हो यो ।
हेटौंडामा विन्दावासिनीको परिवारको भाँडा पसल छ । कलेज छुट्टी हुँदा उनी पसलमा सघाउँथिन् । त्यस दिन पनि पसलमै थिइन् । हातमा पोको बोकेर राजकेशरी उनीतिर आए । प्रेम प्रस्ताव अस्वीकार गरेदेखि त्यो केटाले सताइरहेको थियो, त्यसैले पसल छिरेपछि ‘यहाँबाट जा’ भनिन् । अरू बेला रूखो बोल्ने केटा आज मीठो बोल्न खोज्दै थियो । ‘हजुरआमालाई मह ल्याइदिएको छु’ भन्दै हातमा बोकेको बट्टा दिन थाल्यो । घरका अन्य सदस्यसँग पनि उसको चिनजान भएकाले बट्टा समाइदिन खोजिन् तर हातमा नपर्दै बिर्को खोल्यो र उनको अनुहारतिर हुत्याइदियो ।
त्यो मह थिएन, एसिड थियो ।
सुरुमा विन्दावासिनीलाई तातो पानी खन्याएझैं पोल्यो, एसिड होला भन्ने हेक्कै भएन । अति पोलेपछि चिच्चाइन्, वरपरका मान्छे आए, नजिकैको हेटौंडा सामुदायिक अस्पताल लगियो । त्यो पीडादायी पल यसरी सम्झन्छिन्, ‘एसिडले जलेर छट्पटिरहँदा पनि दिमागमा किन यस्तो गर्‍यो होला भनेर सोचिरहेको थिएँ, केही समयपछि सोच्न पनि नसक्ने भएँ ।’ अनुहारमा सीधै एसिड हाने पनि चस्मा लगाएकाले आँखा पूरै जलेन तर चर्को असर परेको थियो । त्यसैले नजिकैको आँखा अस्पताल रिफर गरियो । त्यहाँ हल्का सफा गरेपछि काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेज ल्याइयो । अनुहार सुन्निँदै गएपछि आँखा बन्द भयो । त्यसपछि फेरि तिलगंगा पुर्‍याइयो । एकै दिन चार अस्पतालमा दौडादौड । अथाहा पीडाको शृंखला त भर्खर सुरु पो हुँदै थियो ।
भोलिपल्ट फेरि मेडिकल कलेज लगियो । चिकित्सकहरू आँखाको ज्योति फर्काउन सक्दो प्रयास गरिरहेका थिए तर ढुक्क थिएनन् । अब देख्दिनँ होला भनेर रोएको रोयै गर्थिन् । जलेको दुःखाइ पनि सहिनसक्नु थियो । पाँच दिनपछि आँखा हल्का खुल्यो तर देखेको कुरा ठम्माउनै नसक्ने भइन् । सबथोक धमिलो, छेवैका बुबालाई जसोतसो चिन्थिन् । आँखाबाट पानी बगेको बग्यै गर्थ्यो, दुई घण्टामा एउटा रुमाल भिज्थ्यो, पाँच–पाँच मिनेटमा औषधि हाल्नुपर्थ्यो । आँखा अलि सन्चो भएपछि घुँडामाथिको छाला काटेर अनुहारको जलेको भागमा सर्जरी गर्न थाले चिकित्सकहरू । तिघ्रामा त केही भएको थिएन नि, तर छाला काट्नुपर्दा त्यहाँ पनि दुःखाइ थपियो । अझ आँखाको परेलीतिर टाका हान्दा त मरेतुल्य हुन्थिन्, पेनकिलरले समेत काम गर्न छोड्यो । त्यसमाथि अनुहारमा छाला सारेपछि तन्किएछ, आँखा खोलेको वा बन्द गरेको, अरूले चालै नपाउने । यसको लागि फेरि छुट्टै उपचार गर्नुपर्‍यो ।
यस्तो दिन पनि आयो, आफ्नो अनुहार देख्दा आफैं तर्सिनुपर्‍यो । तर, सहनुको विकल्प थिएन । तीन महिनाको कष्टकर अस्पताल बसाइपछि घर जान पाइन् तर घाउ फेरि बल्झन थाल्यो । त्यसपछि थप उपचारका लागि दक्षिण भारतको मधुरै पुगिन् । काठमाडौंमा सर्जरी गरेको छाला हावाका कारण बाक्लो हुँदै गएछ, त्यसैले फेरि तिघ्राबाट छाला निकालेर सर्जरी गर्नुपर्‍यो । डबल दुःखाइ !
पहिलोपटक मधुरैको अस्पतालमा डेढ महिना बसिन् । यसबीच २० पटक त अप्रेसन नै भयो । उनका अनुसार ८० लाख रुपैयाँ खर्च भइसकेको छ तर ‘बर्न सरभाइभर नेपाल’ बाट ३० हजारबाहेक अन्त कहींबाट सहयोग पाएकी छैनन् । सरकारले खर्च बेहोरिदियोस् भन्ने चाहना छ उनको किनभने अहिले पनि तीन–तीन महिनामा उपचार गर्न त्यहाँ जानुपर्छ । धूलो र धूवाँबाट जोगाउनुपर्छ । छिन–छिनमा हात धुनुपर्छ । फोहोर हातले अनुहारमा छोए ‘एलर्जी’ हुन्छ । चस्मा नलगाई हिँड्ने अवस्था छैन । आँखाबाट हर पल पानी बग्छ, औषधि हालिरहनुपर्छ । घाउ पोलिरहन्छ ।
तर घाउभन्दा बढी पोल्थ्यो, अरूले ‘विचरा’ भनेर सहानुभूति पोख्दा । त्यसैले सुरुआती दिनहरूमा सकेसम्म अरूबाट भाग्न खोज्थिन् । मन हल्का हुने गरी रुन पनि मिल्दैन थियो, आँखामा असर गर्ने भएकाले । घरबाहिर निस्कन मन लाग्थ्यो तर धूलो, धूवाँ र बत्तीले पोल्थ्यो । थोरै यताउता भए घाउ चर्किहाल्थ्यो । यता, अपराधी पक्राउ पर्ने कुनै छाँटकाँट थिएन । उनी भन्छिन्, ‘अपराधी नसमातिएकाले एकातिर फेरि आएर हान्छ कि भन्ने डर हुन्थ्यो, अर्कातिर सजाय दिलाउन सकिनँ भनेर हीनताबोध हुन्थ्यो ।’ विडम्बना के भने अपराधी समात्न प्रहरीले सुरुबाटै हेल्चक्र्याइँ गर्‍यो, महत्त्व नै दिएन ।
एसिड हान्नासाथ ठूलोबुबाले अस्पताल लगे, बुबा प्रहरी कार्यालय पुगेर रिपोर्ट लेखाए । त्यतिबेला प्रहरी अधिकारीले यस्तो प्रतिक्रिया दिएछन्, ‘ए, भारतमा एसिड प्रहारका घटना बढी छ, अब नेपालमा पनि हुनथालेछ ।’ विन्दावासिनी भन्छिन्, ‘मेरी छोरीमाथि एसिड हानियो भनेर बुबा रुँदै प्रहरीकहाँ पुग्दासमेत गम्भीरता देखाइएनछ, सानोतिनो चोरीको घटनाजस्तै सामान्य रूपमा लिइएछ, हुन्छ हामी हेर्छौं भनेर बुबालाई पठाएछन् ।’ उनलाई के लाग्छ भने प्रहरीले संवेदनशीलता देखाए भए त्यतिबेलै अपराधी समातिन्थ्यो ।
एसिड हानेपछि पसलअगाडि रोकिराखेको नीलो पल्सर बाइकमा चढेर राजकेशरी भागेका थिए । केही समयपछि प्रहरीकै अनुसन्धानबाट खुलेको थियो, एसिड हानेर घर आई कपडा परिवर्तन गरेर उनी भारत छिरेका थिए । विन्दावासिनीको घरबाट राजकेशरीको घर पुग्न बाइकमा चार मिनेट जति लाग्छ । त्यहाँबाट बोर्डर क्रस गर्न अर्को तीन घण्टा । तर प्रहरीको कमजोरीको कारण अपराधी सजिलै उम्कियो ।
अस्पताल पुर्‍याएको केही समयपछि विन्दावासिनीको मोबाइल ‘अफ’ गरिएको थियो, एकैपटक दुई महिनापछि ‘अन’ गरिन् । पहिल्यै आएको तर नखोलिएको म्यासेज रहेछ, आँखाले स्पष्ट नदेख्ने भएकाले गहिरिएर हेरिन् । एसिड हान्नासाथ त्यही केटाले गरेको म्यासेज रहेछ, ‘तँ पहिलो होस्, दुई जना अरू बाँकी छन् ।’ यत्ति दुई लाइनको म्यासेज पढ्न उनलाई आधा घण्टा लागेछ । पढ्न मिस्टेक भयो कि भनेर बुबालाई देखाइन्, त्यही लेखिएको रहेछ, त्यसपछि उनीहरूले मकवानपुरका एसपीलाई जानकारी गराए । प्रतिक्रिया आएछ, ‘ए हो र, हामी हेर्छौं ।’ उनका अनुहार त्यहीताका उनलाई नेपालकै नचिनेको नम्बरबाट फोन आएको थियो । आवाजबाट चिनिहालिन्, त्यही केटाको रहेछ, हत्तपत्त फोन बुबालाई दिइन्, तर फोन कट्यो । विन्दावासिनी भन्छिन्, ‘हामीले प्रहरीलाई खबर गर्‍यौं तर नेपालकै नम्बरबाट फोन आएको छ भन्दा पनि चासो दिइएन ।’
मकवानपुरमा प्रहरी प्रमुख फेरिएपिच्छे विन्दावासिनी बिन्ती बिसाउँथिन् । सबैको उत्तर प्रायः उस्तै हुन्थ्यो, ‘अपराधी भारतीय नागरिक हो, भारत पुगेर समात्न मिल्दैन । नेपाल भारतबीच सुपदर्गी सन्धि छैन ।’ यस्तै–यस्तै । कोही–कोही त केसको फाइल बन्द भइसकेको समेत भन्थे । उनी पनि बिर्सन खोज्थिन् तर घाउको पोलाइले बिर्सनै दिँदैन्थ्यो, अस्पतालमा हरेकपटक लेजर गर्दा फेरि एसिडले हानेजस्तै पोल्थ्यो । साथीभाइ र आफन्तहरू चोट बल्झाइरहन्थे, ‘तिम्लाई एसिड हान्ने समातिएन है ?’ टाउको निहुराउनु र एक्लै बसेर रुनुको विकल्प हुन्थेन । ‘न्याय पाइएला भन्ने आस हराउँदै गएपछि डिप्रेसनमा फसें, बाँचेर त्यसलाई सजाय दिन सकिनँ, अब मर्छु अनि आत्माले त्यसलाई खान्छु भनेर आत्महत्या गर्न मन लाग्थ्यो,’ सुक्सुकाउँदै सुनाइरहिन्, ‘तर बुबाआमाको माया सम्झन्थें, म एक्ली छोरी, यति धेरै माया गर्नुभएको छ, मरें भने उहाँहरूको पाप लाग्छजस्तो लाग्थ्यो । त्यसैले मर्न सकिनँ ।’
गत फागुनमा विन्दावासिनीको साथीको नयाँ दिल्लीमा राजकेशरीसँग जम्काभेट भएछ । ती साथीले फोटो खिचेरै पठाइदिएछन्, जसले उनमा अपराधी समातिने आशा जगायो । कसैले उनलाई सुनाइदिएको रहेछ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चाह्यो भने भारत पुगेरै अपराधी समात्न सक्छ । त्यसैले नयाँ फोटो पाउनासाथ सीआईबीलाई उपलब्ध गराउने प्रयास गरिन् तर पहुँच पुगेन । त्यसैले मकवानपुर प्रहरीलाई नै दिइन् । त्यति गर्दा पनि खासै गम्भीरता नदेखाएको गुनासो छ उनको । तर यो फोटो विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित भएपछि बाराका प्रहरी निरीक्षक सागरशमशेर राणाले सम्पर्क गरेछन् । यही बेला राजकेशरी नेपाल छिरेपछि राणाकै टोलीले पक्राउ गर्‍यो ।
जब राणाले पक्रेको खबर सुनाए– विन्दावासिनीलाई सपनाजस्तै लागेछ । आँखा रसाए, शरीर तात्यो । कष्टका एक–एक पल सम्झिन् । र, निष्कर्षमा पुगिन्– त्यसलाई देख्नासाथ पिट्छु । बदलाले भरिएर प्रहरी कार्यालय पुगिन् । प्रहरी, पत्रकार र अरू मान्छे देखेपछि आफूलाई सम्हालिन् । उनलाई लागेको थियो— उसले शिर निहुराउँछ, अनुहारमा हेर्दैन तर आँखा तरेछ । त्यसपछि आफूलाई रोक्नै सकिनछन्, झम्टिहालिन् । राजकेशरीले आँखा तरेको, उसको अनुहारमा डर र पश्चत्तापको भाव नभएको भिडियोमा प्रस्टै देखिन्छ । पिट्न खोजेपछि प्रहरीले उनलाई रोके । उनी आक्रोशित हुँदै भन्छिन्, ‘त्यसले मलाई एसिड हान्यो, मैलेचाहिँ त्यसलाई थप्पड पनि हान्न नपाउने ? त्यसको गाला चड्काउन पाएको भए मन शान्त हुन्थ्यो ।’
अपराधी त समातियो तर फितलो कानुनले उम्केला भन्ने भय छ । नयाँ मुलुकी संहितामा अनुहारमै एसिड परेको छ भने आठ वर्ष र शरीरको अन्य भागमा जतिसुकै क्षति पुर्‍याए पनि तीन वर्ष कैद हुने व्यवस्था छ । त्यति आततायी अपराधका लागि यति कमजोर कानुन ! ‘एसिड हानेर जीवन बर्बाद पार्नेलाई फाँसी नै हुनुपर्छ । त्यति नभए पनि जन्मकैद हुनुपर्छ,’ विन्दावासिनीको डर मिसिएको सवाल छ, ‘चार–पाँच वर्ष जेल बसेर छुटेपछि फेरि एसिड नहान्ला भन्ने के भर ? त्यसको जिम्मा कसले लिन्छ ?’