You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

६ वर्षमा ५.६७ क्विन्टल सुन बरामद

- मातृका दाहाल

(काठमाडौं) - हङकङबाट आएका दुई चिनियाँ नागरिक चेन होङयाङ र चेन क्विनहाङ ८ केजी सुनसहित बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । जहाजबाट बाहिरिने क्रममा भन्सार र प्रहरीको टोलीले उनीहरूलाई पक्रिएको थियो । चीनको फुजियान प्रान्तका दुवै जना भरिया रहेको प्रहरीको आशंका छ । शुक्रबार पनि तिब्बत एयरबाट आइपुगेका चिनियाँ नागरिक सा लुतुई एक किलो सुनसहित त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन् ।
गत साउन १९ गते हङकङबाटै आएका चिनियाँ नागरिक ली निङसिङ ४ केजीसहित विमानस्थलबाटै समातिए । उनी पनि तस्करका भरिया नै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । त्यसको १० दिनअघि गोरखाको धार्चे गाउँपालिका–३ खोर्लाबेसी नजिकैको ओडारमा १६ केजी सुन फेला पर्‍यो । बरामद सुन गोरखाकै तिब्बती सीमा चुमनुब्री गाउँपालिकाको छेकम्पारस्थित ङुइला नाकाबाट भित्रिएको अनुसन्धानले देखायो ।
अवैध रूपमा नेपाल भित्र्याइएको सुन बरामद गरिएका यी पछिल्ला घटना हुन् । जसबाट तस्करले विभिन्न शैली र बाटो अपनाउँदै सुन भित्र्याउने क्रम चलिरहेको देखिन्छ । प्रहरीले प्रायः भरिया मात्र समात्ने र मुख्य कारोबारी पत्ता नलगाउने हुनाले पनि तस्करी निरन्तर भइरहेको आकलन गरिएको छ । गत चैत २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले थाइल्यान्डबाट आएका ५ भारतीयलाई ६ केजी सुनसहित पक्राउ गरेको थियो । ०७४ असोज ४ गते रसुवागढी/केरुङ नाका हुँदै भित्रिएको ८८ केजी सुन क्षेत्रपाटीबाट बरामद भयो । यी घटनाका मुख्य कारोबारी पत्ता लागेका छैनन् ।
प्रहरीका अनुसार ०७१ मा १ सय ११ केजी, ०७२ मा ६८ केजी, ०७३ मा ९१ केजी, ०७४ मा १ सय ७९ केजी, ०७५ मा ८९ केजी र चालु आवको ८ महिनामा २९ केजी तस्करीको सुन बरामद भएको छ । प्रहरीका अनुसार ६ वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा चीन र भारतसँग जोडिएका नाकाबाट ५ सय ६७ केजी सुन बरामद भएको छ, जुन अहिलेको दरअनुसार करिब ३ अर्ब ५० करोड रुपैयाँ मूल्य बराबरको हो । तस्करीमा संलग्न ४ सय ५५ जना नेपाली र विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेका केहीबाहेक अधिकांश भरिया रहेको प्रहरी अधिकारीले बताएका छन् । चीन, भारत, नेपाल, दुबई, हङकङ, सिंगापुर, थाइल्यान्डलगायत मुलुकमा बसेर सुन अवैध रूपमा ओहोरदोहोर गराउन गिरोह सक्रिय रहे पनि निस्तेज पार्न सरकारले सकेको छैन ।
यसबीचमा सुन तस्करलाई ओसारपसारमा सहयोग गरेको अभियोगमा नेपाल प्रहरीका एसएसपीद्वय रविराज श्रेष्ठ र श्याम खत्री लगायतसमेत पक्राउ परे । सशस्त्र प्रहरीका तत्कालीन डीएसपी हर्क पन्त भन्सार छली र सुन तस्करसँग मिलेको अभियोगमा तातोपानीबाटै पक्राउ परे । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भुजुङ गुरुङ पनि पक्राउ परे ।
पूर्वडीआईजी हेमन्त मल्ल नेपालमा तस्करीको सुन ९० प्रतिशत चीनबाट आउने गरेको बताउँछन् । ‘तस्करले नेपाललाई ट्रान्जिट बनाएर सुन ओसारपसार गरिरहेका छन्, त्यसलाई नियन्त्रण गर्न सरकारले विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्छ,’ उनले भने, ‘विमानस्थलसहित सबै नाकामा सुन, लागूऔषध र मुद्रा पहिचान गर्न सक्ने उपकरण जडान गरियो भने धेरै हदसम्म तस्करी रोक्न सकिन्छ ।’
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल तथा चीन र भारतसँग सीमा जोडिएका स्थल नाकाबाट सुन तस्करी हुँदै आएको छ । भारतसँग मानव आवतजावत गर्न मिल्ने ७३ नाका/चेकप्वाइन्टमा सरकारको उपस्थिति छैन । चीनसँग सीमानाका जोडिएका डेढ दर्जन चेकप्वाइन्टमा पनि सरकारको संयन्त्र पुगेको छैन ।

हालै सशस्त्र प्रहरीले भारत र चीनतर्फ सीमा अपराध र तस्करी नियन्त्रण गर्न भन्दै ६३ चेकप्वाइन्टमा सुरक्षाकर्मी तैनाथ गर्न प्रस्ताव गरेको छ । भारततर्फका १ सय ७ नाकामा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भर पोस्ट (बीओपी) र त्यति नै संख्यामा नेपाल प्रहरीका सीमा सुरक्षाचौकी तैनाथ छन् । तर सुन तस्करी नियन्त्रणमा प्रभावकारी काम हुन सकेको छैन । पूर्वडीआईजी मल्ल भन्छन्, ‘सुन, डलर र लागूऔषध तस्करी कुनै एक पक्षको मात्रै मिलेमतोमा हुँदैन ।’
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले प्रहरी सक्रियताकै कारण ६ वर्षमा करिब ६ क्विन्टल सुन बरामद भएको जानकारी दिए । ‘प्रहरीको सक्रियता थिएन भने यतिधेरै तस्करीको सुन बरामद हुने थिएन,’ उनले भने, ‘तस्करी नियन्त्रणमा जति काम भएको छ, त्यसलाई अझ सशक्त बनाउनुपर्छ, यसप्रति हामी सचेत छौं, पहल पनि भइरहेको छ ।’
कमिसन कटौतीले सुराकी निष्क्रिय
सरकारले अवैध सामान बरामदबापत उपलब्ध गराउने कमिसन घटाएपछि सुन, विदेशी मुद्रा तथा भन्सार छली नियन्त्रणमा कमी आएको प्रहरीका एक अधिकृतले बताए । सुराकी भत्तामा कटौती भएपछि सूचना दिनेहरू नै बिच्किएको ती अधिकारीको भनाइ छ । ‘सूचना दिएबापत आकर्षक लाभ पाइने लोभमा सुराकीले अनुसन्धानमा सहयोग गर्थे,’ ती अधिकारीले भने, ‘तर सरकारले सुराकीमा १५ प्रतिशत वा १५ लाखमध्ये जुनमा कम रकम हुन्छ, त्यसकै आधारमा सुराकी भत्ता दिने नियम ल्याएपछि त्यसको असर तस्करी नियन्त्रणमा परेको छ ।’
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको ३५ केजी सुनका सुराकीबारे विवाद भएपछि सरकारले सुराकीसम्बन्धी व्यवस्थामै परिवर्तन गरेर १५ लाख वा १५ प्रतिशतमध्ये कम हुन आउने रकम सुराकी खर्च दिने प्रावधान ल्याएको थियो । तत्कालीन व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको निर्देशनअनुसार आर्थिक वर्ष ०७३/७४ देखि लागू हुने गरी विगतको कमिसन प्रावधान परिमार्जन गरी नयाँ व्यवस्था ल्याइएको थियो । पहिले सुराकीलाई १५ प्रतिशत र अनुसन्धानमा संलग्न सुरक्षाकर्मी तथा कर्मचारीलाई १० प्रतिशत दिने प्रावधान थियो ।
राष्ट्रिय सभामा हाल विचाराधीन राजस्व चुहावट ऐन २०५२ लाई संशोधन गर्न बनेको विधेयकमा भने सुराकी खर्चमा केही बढाउने प्रावधान छ । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पुगेका विधेयकको दफा २९ मा सुन, हिरा, जवाहरातको हकमा मुद्दा किनारा लागेपछि १० प्रतिशत र अन्य मालवस्तुको हकमा २० प्रतिशतले हुन आउने रकम सुराकी खर्च दिइने प्रस्ताव छ ।
पूर्वडीआईजी मल्लले पनि सुराकीको लोभमा सूचना दिने मानिसहरूले आकर्षक रकम नपाउने भएपछि जोखिम मोल्न छाडेको हुन सक्ने बताए । ‘पहिले सुराकी दिनेहरू पैसाको लोभमा सम्पर्कमा आउँथे, त्यो अहिले कमी भएको छ,’ मल्लले भने, ‘सबै किसिमका तस्करी र अपराध नियन्त्रणमा सुराकी परिचालनलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’
लुकाइयो प्रतिवेदन
उर्लाबारीका सनम शाक्यको ०७४ फागुनमा हत्या भएपछि गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले विमानस्थल, चीन र भारतसँग नाका जोडिएका स्थानबाट सुन तस्करी हुने गरेको भन्दै नियन्त्रणमा प्रभावकारी कदम चाल्न सुझाव दिँदै प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन गृह मन्त्रालयमै थन्किएको छ । सुन तस्करबाटै मारिएपछि गृह मन्त्रालयले सुन तस्करीबारे छानबिन गर्न सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले ०७५ साउन १४ गते गृहमन्त्री रामबहादुर थापासमक्ष ७ सय ५२ पृष्ठ लामो प्रतिवेदन बुझायो । त्यसलाई अझै गोप्य राखिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा २ सय ९२ जनालाई सुन तस्करीको आरोपमा छानबिन गर्न सिफारिस गरिएको छ ।
प्रतिवेदनमा सुन तस्करी नियन्त्रणमा हुन्डी, डलर कारोबार, म्यानपावर व्यवसायी, शैक्षिक परामर्शदाता संस्था, विदेशबाट वस्तु आयात गर्ने व्यापारी, सुन पसलेलगायत माथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख छ । त्यस्तै सीमानाका नियमन, अनुगमन र प्रविधिको प्रयोगलाई पनि बढाउन सिफारिस गरिएको छ । तर गृहले समितिको सिफारिसअनुसार काम गरेको छैन ।
‘समितिले निकै मिहिनेत गरेर प्रतिवेदन बुझाएको छ, यसलाई विस्तारै कार्यान्वयनमा लैजाने कुरा भइरहेको छ,’ गृह स्रोतले भन्यो, ‘यससँग जोडिएका कतिपय आरोपितको मुद्दा अदालतमा विचाराधीन भएकाले सिफारिस कार्यान्वयनमा केही जटिलता थपिएको छ ।’ स्रोतका अनुसार समितिले राज्यले निर्धारण गरेको कर लिएर सुन आयातमा खुकुलो नीति अवलम्बन गर्न पनि सिफारिस गरिएको छ । सुन पसलेलाई प्रभावकारी नियमन गर्नुपर्ने, हुन्डी कारोबारीमाथि कठोर कानुन ल्याउनुपर्ने लगायतका सिफारिस पनि गरिएको छ ।

मुख्य पृष्ठ

यसरी सुरु हुँदै छ १३ औं साग

ग्रान्ड रिहर्सल
- विनोद पाण्डे
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोहका लागि दशरथ रंगशालामा शुक्रबार साँझ ॅग्रान्ड रिहर्सल’ का क्रममा मार्चपास र आतिसबाजी गरिँदै । सागको उद्घाटन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । तस्बिर ः हेमन्त श्रेष्ठ र दीपक केसी/कान्तिपुर

(काठमाडौं) - दशरथ रंगशाला यतिबेला दुहली घरजस्तै भएको छ । पुनर्निर्माणले रूप फेरिएको रंगशाला धपक्क बलेको छ । चारैतर्फ प्यारापिटमा छानो हालिएको छ । रंगीविरंगी कुर्सी, अनि मैदानको हरियो दुबोमा फ्लडलाइटको प्रकाश छरिँदा यो हाम्रै देशको रंगशाला हो भन्न पाउँदा पनि आनन्द लाग्छ । हो, यही रंगशालामा आइतबार भव्य समारोह हुनेछ– दक्षिण एसियाली खेलकुद १३औं संस्करणको उद्घाटन ।
‘नेपाली मौलिकता प्रस्तुत हुनेछ । प्रकृति र संस्कृतिको धनी देश भनेर चिनाउनेछौं,’ समारोह समितिका निर्देशक कुलबहादुर थापाले भने, ‘हेरौं–हेरौं लाग्ने बनाएका छौं उद्घाटन समारोह ।’

पदकको हाम्रो हिसाबमा नभए पनि नेपाल दक्षिण एसियाली खेलकुदको संस्थापक भएकाले नेपालकै अगुवाइमा साग अगाडि बढिरहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशासन प्रमुख रहेका निर्देशक थापाले भने, ‘नेपालले सधैं यसको नेतृत्व गर्दै आएको छ । उद्घाटनमा हामीले यही कुरा भन्न र देखाउन खोजेका छौं ।’
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी गरी १५ हजार जनाको उद्घाटन र समापन समारोहमा प्रस्तुति रहने छ । थापाको जिम्मेवारी उनीहरूलाई नै निर्देश गर्नु हो । उद्घाटन समारोह सागको ऐना हो । उनी यसैलाई प्रस्तुत गर्न अन्तिम चरणमा छन् । शुक्रबार उद्घाटन समारोहको ग्रान्ड रिहर्सलपछि उनी अझै हौसिएका छन् ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल समारोह समितिका संयोजक हुन् । उद्घाटनमा सशस्त्रकै सबैभन्दा बढी ४ हजार ५ सयले प्रस्तुति दिनेछन् । त्यसबाहेक सेनाका १ हजार ५ सय, प्रहरीका १ हजार, विद्यार्थी ३ हजार, झाँकी समूहका ४ हजार, व्यावसायिक कलाकार ३ सयलगायत आइतबार दशरथ रंगशालाको साग उद्घाटन समारोहमा आफ्नो कला प्रस्तुत गर्ने प्रदर्शनकारी हुन् । त्यसबाहेक १५ सय जनाको मास क्यालिसथेनिक्स प्रदर्शन पनि हुनेछ ।
मार्चपासबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता, स्वागत भाषण, सांस्कृतिक कार्यक्रम र आतिसबाजीका साथ उद्घाटन समारोह सम्पन्न हुनेछ । त्यसमा लेजर बिम, लाइटिङ, इलेक्ट्रोनिक प्रदर्शन गरिनेछ । थापाका अनुसार समापनमा ड्रोनबाट आकाशमा प्रस्तुति देखाइने छ । ‘नेपालमा टेक्नोलोजीको ठूलो बजार छ भनेर विशेष गरी युवालाई देखाउन खोजिएको छ, ड्रोन प्रयोग गर्न विदेशी पनि प्रयोग गरिएको छ,’ शुक्रबार दशरथ रंगशालामा ग्रान्ड रिहर्सल गर्दै उनले भने, ‘नेपाली परम्परागत बाजाहरू विश्वकै उत्कृष्ट हुन् । हाम्रो मौलिक बाजालाई ५ सय जनाले घन्काउने छन् ।’
कुल तीन घण्टाको उद्घाटन समारोहमा नेपाली मौलिक बाजाको प्रस्तुति २१ मिनेटको रहनेछ । राष्ट्रपतिको आगमनसँगै मार्चपास हुनेछ । मार्चपासमा नेपालबाट १३ औं सागमा खेलाडीका रूपमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले झन्डा बोक्ने सम्भावना प्रबल छ । यद्यपि यसलाई राखेपले स्वीकृत गरिनसकेको थापा बताउँछन् । ओलम्पियन दीपक विष्टले ओलम्पिक फ्लेम बाल्ने छन् । एकजना अनुभवीलाई जजका तर्फबाट शपथग्रहण गराइने छ ।
मुकुन्द शर्माको रचना, प्रकाश गुरुङको संगीतमा आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी र सत्यराज आचार्यलगायतको गायन टोलीले सार्क गीत गाउने छन् । सातै प्रदेशको प्रतिनिधित्व गर्दै स्वागत नृत्य प्रस्तुति उद्घाटन समारोहमा समावेश छन् । ब्यान्ड प्रदर्शन सागकै अहिलेसम्मकै ठूलो हुने थापाको दाबी छ । त्यसमा सात सय जनाको प्रस्तुति रहनेछ । ७७ जिल्लाका प्रतिनिधिलाई काजमा झिकाइएको छ । थापा देशका सबै भेगको उद्घाटनमा प्रतिनिधित्व हुने बताउँछन् । उनी भन्छन्, ‘सबैले गर्व गर्ने खालको उद्घाटन समारोह हुनेछ । यसलाई हामीले एसियाली स्तरकै बनाउने प्रयास गरेका छौं । खर्च पनि हेर्नुपरेको छ ।’
उद्घाटनलाई १५ करोडसम्म खर्च हुने सम्भावना छ । सबैको सहयोगका कारण खर्च आधा घटेको उनी सुनाउँछन् । सुरक्षा निकाय र विद्यालयका विद्यार्थीले निःशुल्क उद्घाटनमा प्रस्तुति दिन लागेका हुन् ।
१३ औं सागमा २८ खेल (बिच भलिबल र थ्रीबाईथ्री बास्केटबलसहित) मा दक्षिण एसियाका सात देशका तीन हजार जनाभन्दा बढी खेलाडीले भाग लिने छन् । नेपालले सबै खेलमा भाग लिँदै छ ।
उद्घाटन समारोहको तयारीलाई थापाले धेरै समय पाएनन् । सरकारले सागको कार्यविधि बनाउनै समय लगायो । त्यसपछि समारोह समिति बन्नै ढिला भयो । उनी जति समय पाइयो त्यसलाई पर्याप्त हुने ठान्छन् । ‘अहिलेको पुस्ता धेरै प्रतिभावान् छन्, उनीहरूले छिटो सिक्छन् । त्यही भएर पनि हामीले छोटो समयमा राम्रो तयारी गर्‍यौं,’ उनले भने ।
थापा खेलकुदमा जागिरे भएको २५ वर्ष भयो । नेपालगन्जमा २०५५ मा भएको चौथो राष्ट्रिय खेलकुददेखि नै उनी समारोह समितिमा आबद्ध छन् । नेपालले पछिल्लो पटक सन् १९९९ मा आयोजना गरेको दक्षिण एसियाली खेलकुदमा उनी समारोह समितिका सहायक थिए । विष्णुगोपाल श्रेष्ठ त्यसको प्रमुख थिए । श्रेष्ठले आफूलाई धेरै सिकाएको मान्दै थापा १९९९ को साफले आफूलाई धेरै पाठ दिएको सुनाउँछन् । त्यही अनुभवका आधारमा उनी यसपालिको उद्घाटन समारोह प्रस्तुत गर्न लागेका छन् ।

मुख्य पृष्ठ

उपनिर्वाचन आज

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका रिक्त ४८ समेत ५२ पदका लागि मतदान
१६ हजार २ सय १९ नयाँ मतदाता, परिचयपत्र नहुनेलाई विकल्प
- राजेश मिश्र

 

(काठमाडौं) - प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदका लागि शनिबार उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएकाले निर्भीक भएर मतदानमा सहभागी हुन मतदातालाई
आह्वान गरेका छन् ।
प्रतिनिधिसभाको रिक्त रहेको कास्की–२, प्रदेशसभाको भक्तपुर १(१), बागलुङ २(२), दाङ ३(२) मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा जसले जिते पनि प्रतिनिधिसभा वा प्रदेशसभामा रहेको दलीय उपस्थितिमा ठूलो प्रभाव पार्ने छैन । स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरमा प्रमुख, संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदको निर्वाचन हुन लागेको हो । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष तथा नगरपालिका एवं गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि समेत उपनिर्वाचन हुँदै छ । स्थानीय तहतर्फ नगरप्रमुख, अध्यक्ष तथा वडाध्यक्ष कार्यकारी पद भएकाले त्यसको जितहारले स्थानीय सरकारमा सम्बन्धित राजनीतिक दलको भूमिका थपघट हुनेछ ।
प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं. २ बाट निर्वाचित तत्कालीन एमाले नेता पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कास्की–२ मा ११ राजनीतिक दलले चुनावमा भाग लिएका छन् ।

प्रदेशसभातर्फ भक्तपुर १(१) बाट निर्वाचित हरिशरण लामिछाने र बागलुङ २(२) बाट निर्वाचित टेकबहादुर घर्तीमगर तथा दाङ ३(२) बाट निर्वाचित सदस्य उत्तरकुमार वलीको निधनका कारण ती स्थानमा उपनिर्वाचन हुँदैछ । लामिछाने र वली एमालेबाट र घर्ती जनमोर्चाबाट विजयी भएका थिए ।
०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तत्कालीन एमाले, माओवादी केन्द्र र जनमोर्चाबीच चुनावी तालमेल थियो । एमाले र माओवादी केन्द्र एकीकरण भइसकेको छ । एकीकृत पार्टी नेकपाले उपचुनावमा जनमोर्चासँग गठबन्धन गरेको छ ।
स्थानीय तहतर्फ धरान उपमहानगरको प्रमुखमा विजयी तत्कालीन एमालेका तारा सुब्बा, मकालु गाउँपालिका अध्यक्षमा विजयी एमालेका खड्कबहादुर कटुवाल, फाल्गुनन्द गाउँपालिका अध्यक्षमा कांग्रेसका अमरकुमार नेम्वाङ र महोत्तरीको पिपरामा राजपाबाट विजयी गाउँपालिका अध्यक्ष विनोदकुमार चौधरीको निधनका कारण ती पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
प्रदेशसभाका तीनवटा निर्वाचन क्षेत्रमा १५ र स्थानीय तहका विभिन्न पदका लागि २० राजनीतिक दलले चुनावमा भाग लिएका छन् । तीनवटै तहका गरी ३ सय ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये राजनीतिक दलका २ सय ५३ जना र अन्य स्वतन्त्र उम्मेदवार छन् ।
प्रतिनिधिसभातर्फ ३२ मतदान स्थलमा ८२ मतदान केन्द्र, प्रदेशसभातर्फ ७८ मतदान स्थलमा १ सय ७४ मतदान केन्द्र र स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थलमा २ सय ८१ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । उपनिर्वाचन हुने क्षेत्रमा ४ लाख ५४ हजार १ सय १४ जना मतदाता छन् । त्यहाँ १६ हजार २ सय १९ नयाँ मतदाता थपिएका छन् ।
बदर मत घटाउने चुनौती
०७४ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५ दशमलव १८, प्रदेशसभाको प्रत्यक्षतर्फ ४ दशमलव १६ र स्थानीय तहमा १२ दशमलव ५ प्रतिशत मत बदर भएको थियो । यसबाट आयोगले चलाएको मतदाता शिक्षा र मतपत्रको डिजाइनमाथि नै प्रश्न उठ्यो । प्रमुख निर्वाचन आयुक्त थपलियाले उपनिर्वाचनमा बदर मत प्रतिशत त्यतिबेला जस्तो नहुने दाबी गरेका छन् । मतदाता शिक्षा प्रभावकारी ढंगले चलाइएको तथा उपनिर्वाचनको मतपत्र सानो र छरितो भएकाले मतदाता नझुक्किने उनको विश्वास छ ।
कास्की–२ मा अघिल्लो निर्वाचनमा ३ प्रतिशत अर्थात् १ हजार ४ सय ६४ मत बदर भएको थियो । प्रदेशसभा भक्तपुर १(१) मा २ दशमलव ६६, दाङ ३(२) मा ४ दशमलव ४८ प्रतिशत र बागलुङ २(२) मा ५ दशमलव १७ प्रतिशत मत बदर भएको थियो । स्थानीय तहको निर्वाचन हुन लागेका क्षेत्रमा औसत १० प्रतिशत मत बदर भएको थियो । २ देखि ३ प्रतिशत बदर मतलाई स्वाभाविक र त्यसभन्दा माथिलाई अस्वाभाविक मान्छन् पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ । बदर मत प्रतिशतलाई न्यून बनाउन निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार र स्वयं मतदाताको विशेष सक्रियता जरुरी हुने
उनले बताए ।
वडादेखि प्रतिनिधिसभाका मतपत्र अलगअलग छन् । प्रत्येक मतपत्रमा एक/एक जनालाई मात्रै मतदान गर्नुपर्नेछ । ०७४ को स्थानीय तह निर्वाचनमा एउटै मतपत्रमा सात जनालाई मतदान गर्नुपर्ने, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा धेरै चिह्नबाट एक जनालाई मतदान गर्नुपर्ने अवस्था थियो ।


परिचयपत्र नहुनेलाई विकल्प
नामावलीमा नाम समावेश भएका मतदातासँग मतदाता परिचयपत्र नभए नागरिकता, राष्ट्रिय परिचपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य कुनै वैध परिचयपत्रका आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ । मतदाता नामावली तथा मतदाता परिचयपत्रमा भएको विवरणमा सामान्य त्रुटि पाई त्यसलाई ‘सानोतिनो भूलचुक’ मानी सरकारबाट जारी अन्य परिचयपत्रलाई समेत आधार मानेर मतदानको व्यवस्था मिलाइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

Page 2
समाचार

बहकियो कालापानी बहस

भारतले नयाँ राजनीतिक नक्सामा नेपालअन्तर्गतका कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेपछि उब्जिएको विवाद र बहसमा ‘नचाहिने र मुद्दाको चुरोलाई बहकाउने’ तर्क–विर्तक बढेका छन् ।
- देवेन्द्र भट्टराई
व्यास गाउँपालिका–२ घाटीबगड क्षेत्रमा भारतले लिपुलेक जाने सडक निर्माणका क्रममा विस्फोट गराउँदा ढुंगा र माटो खसेपछि थुनिनै लागेको महाकाली नदी । तस्बिर ः मनोज/कान्तिपुर

(काठमाडौं) - नेपाल र भारतका दुई पूर्वपरराष्ट्र सचिवका कालापानीबारे आएका राय–टिपोट यतिखेर सार्वजनिक सञ्जालको बहसमा छाएका छन् । नेपालका लागि भारतीय पूर्वराजदूत एवं पूर्वविदेश सचिव श्याम शरणले यो साता भारतीय अखबारमा लेख लेखेका छन्, ‘कालापानी मुद्दामा नेपालले छलफल चाहेकै छैन, द्विपक्षीय एजेन्डामा नेपालले कालापानीलाई राख्न चाहेकै छैन ।’ यसको प्रतिवाद गर्दै पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले ट्वीट गरे, ‘तत्कालीन (२००३) भारतीय राजदूत श्याम शरणले नै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण क्रममा कालापानी र सन् १९५० को सन्धिलाई संयुक्त वक्तव्यबाट हटाउन लबिइङ गरेका थिए ।’
भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा नेपालअन्तर्गतका कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेपछि उब्जिएको विवाद र बहसमा ‘नचाहिने र मुद्दाको चुरोलाई बहकाउने’ तर्क–विर्तक बढेका छन् । उठेको मामिलालाई समातेर सम्बोधन गर्नेतर्फ लाग्नुपर्ने परराष्ट्र मन्त्रालय भने कसैले थाहा नपाएको आभास दिने गरी ‘आन्तरिक तयारी’ मा छ । परराष्ट्र सचिव शंकर बैरागीले तीन साताअघि मिडियामा भनेका थिए, ‘यस विषयमा हामीले भारतीय पक्षसँग कुरा गर्नैपर्ने हुन्छ । कुराकानीका लागि छिट्टै टुंगो लाग्छ ।’
यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कालापानीबाट सेना हटाओस्’ भनेर बोलीको अडान सुनाए । संसद्को राज्य व्यवस्था तथा सुशासन समिति स्थलगत अनुगमनका लागि जाने तयारी गरे पनि सभामुख नभएका कारण प्रक्रिया तत्कालका लागि अघि बढेको छैन ।
नागरिकस्तरबाट गठित विज्ञ समूहले ‘सीमा बचाऔं अभियान’ अघि बढाएको छ । एउटा राष्ट्रवादी समूह कालापानीमै अखण्ड धर्ना कार्यक्रम लिएर अघि बढिसकेको छ । संसद्को राज्य व्यस्था समितिले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गर्न भूमि व्यवस्था मन्त्रालय र नापी विभागलाई निर्देशन दिएको दुई साता बितेको छ । यो निर्देशन ‘लिखित’ हैसियतमा शुक्रबारसम्म पनि सिंहदरबारबाट नापी विभागसम्म पुग्न सकेको छैन । नापीका महानिर्देशक प्रकाश जोशी भन्छन्, ‘सीमा व्यवस्थापनको प्राविधिक पक्ष र सीमांकनमा हामी तम्तयार छौं तर नयाँ नक्सा तयारीबारे अथवा यस्तो सैद्धान्तिक पक्षमा कतैबाट कुनै निर्देशन पाइसकेका छैनौं ।’
तीन साताअघि कालापानीबारे प्रधानमन्त्रीसहित बसेको सर्वदलीय बैठकले ‘साझा सहमति’ जुटाएको थियो । आफैंसमेत संलग्न रहेको सर्वदलीय बैठकमा भएको सहमतिको मसी सुक्न नपाउँदै पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर ७ मा पोखरा पुगेर तरंग ल्याउने गरी बोले, ‘भारतले हाम्रो प्रधानमन्त्री ओलीसँग नै सम्झौता गरेर मात्र नयाँ नक्सा बनाएको हो । होइन भने नेपाली भूभाग मिचिएको प्रस्ट हुँदाहुँदै सरकारले किन पहल गर्दैन ?’
पोखराको चुनावी प्रचारमाझ पूर्वप्रधानमन्त्री तहका वरिष्ठ नेताले राखेको यो धारणाले तरंग ल्यायो तर यो भनाइ आफ्नै निम्ति र राष्ट्रिय हित–स्वार्थका हिसाबमा कति घातक थियो भन्ने बहस अघि बढ्न सकेन । यही बेला भारतीय पूर्वविदेश सचिव एवं राजदूत श्याम शरणले एकतर्फी रूपमा ‘नेपाली पक्षले कालापानीबारे गम्भीर छलफल गर्न नचाहेको’ भन्दै नेपाली राजनीति, प्रशासन र संयन्त्रमा रहेको ‘छिद्र’ को फाइदा उठाएर प्रहार गरेका हुन् ।
सन् २०१४ मा काठमाडौंमा सम्पन्न नेपाल–भारत मन्त्रीस्तरीय बैठकले कालापानी र सुस्ताको विवाद समाधान गर्न सचिवस्तरीय संयन्त्र बनाएको यथार्थलाई भने पूर्वसचिव श्याम शरणले स्मरणसम्म पनि गरेका छैनन् । लगत्तै नेपाल–भारत १९५० को सन्धिसहितका सहमति, सम्झौताको पुनरावलोकन गर्न बनाइएको प्रबुद्ध समूह (ईपीजी) को उच्च आकांक्षा र मार्गनिर्देशनको प्रतिवेदन एक वर्षयता कता–कहाँ थन्किएको छ, कसैलाई थाहा छैन । भारत सरकारले ईपीजी प्रतिवेदन बुझ्नै नचाहेको एकातर्फ छ भने उक्त समूहका अधिकांश द्विदेशीय सदस्यहरू राजदूत, गभर्नर, प्रधानमन्त्रीका सल्लाहकार आदि बनेर ‘चुप लाग्ने’ स्थितिमा पुगिसकेका छन् । ‘ईपीजी प्रतिवेदन भारतले बुझ्न नचाहनुका पछाडि सबैभन्दा चर्को रूपमा यही खुला सीमा विवाद, अनिवार्य पहिचान पत्र र कालापानीसहितको सरोकार पनि जोडिएको छ,’ ईपीजीकै एक सदस्य भन्छन्, ‘अर्कातिर, यो सरोकारमा हामी कामले भन्दा बढी कुरामा सहमत र गम्भीर छौं । यही हाम्रो सतही गम्भीरताको फाइदा उठाएर अनेक तहका भारतीय अधिकारीहरू हामीलाई कमजोर देखाउँदै कुरा गरिरहेका छन् ।’
यो सन्दर्भमा परराष्ट्र मन्त्रालयले २०६३ सालमा राष्ट्रिय अभिलेखालयमा ऐतिहासिक प्रमाणका रूपमा बुझाएका नापनक्सासहितका अभिलेखबारे सोधीखोजी पनि सुरु भयो । सन् १९३४ को कालापानी क्षेत्रको ट्रेस–नक्सा, सेती–महाकाली नक्सा आदिसमेत उक्त सामग्रीमा पाइएपछि नियमानुसार परराष्ट्र मन्त्रालयको प्रशासनमा ती सामग्री अध्यन–मननका लागि लिखित निवेदन पेस गर्दासमेत सहमति वा असहमति दिइएको छैन । ‘हामी आफैं आवश्यक प्रमाण सामग्री जुटाउँदैछौं,’ परराष्ट्रमा प्रशासनका एक वरिष्ठ कर्मचारीले भने, ‘फेरि अहिले परराष्ट्रमन्त्री, सचिव रुसदेखि सर्वियासम्मको भ्रमणमा निस्कनुभएको छ । तपार्इंले चाहेको सामग्रीको अध्ययन गर्न दिने कि नदिने भन्नेबारे पछि निर्णय हुन्छ ।’
यो घडी राष्ट्रवादी स्वर सुनाउन सञ्चारमन्त्री गोकुल बाँस्कोटा सञ्चार मन्त्रालयमै कालापानीबारे राजनीतिक बोली बोलिरहेका छन् भने भूमि व्यवस्थामन्त्री पद्मा अर्याल कालापानीसमेत देखिने नक्सा आफ्नो कक्षमा राखेर संवाददातालाई ‘कुरो बुझाउन’ खोजिरहेकी छन् । प्रधानमन्त्रीको बोलीपछि प्रधानमन्त्रीका सल्लाहकारहरू पनि ‘कालापानी हाम्रै हो’ भन्दै सुगा–अन्तर्वार्ता दिनमा व्यस्त छन् । तर यो मामिलामा तालुकदार भनिएको परराष्ट्र मन्त्रालय कहाँ छ ? परराष्ट्र सचिवको संयन्त्र के गर्दै छ, थाहा छैन । यसबेला, फेरि पनि भारतीय पूर्वविदेश सचिवको भनाइ उल्लेख गरौं, ‘नेपाली पक्षले यो (कालापानी) विषयलाई भाषणबाजीका क्रममा मात्रै उठाउने गरेको छ । तर, बैठकहरूमा गम्भीर छलफल गर्न भने सधैं अनिच्छुक छ ।’

सीमा विवाद

समाचार

महाकाली थुनिने खतरा

- मनोज बडू

(दार्चुला) - भारतले नेपाल–भारत सीमा नदी महाकालीको किनारैकिनार लिपुलेक सडक निर्माण गर्दा नदीको बहाव थुनिने खतरा बढेको छ । भारतले व्यास गाउँपालिका–१ र २ को पारिपट्टि चट्टान फुटाएर सडक निर्माण गर्दै छ । त्यसका क्रममा खस्ने ढुंगा र माटो नदीमा थुप्रिएर बहाव थुनिने खतरा बढेको हो ।
सडक निर्माणका क्रममा निस्केका ठूला ढुंगा नदी किनारमा फालिएको छ । ‘त्यसले धैरै ठाउँमा नदी ताल परेको छ,’ व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीय दीपेन बुढाथोकीले भने, ‘दुम्लिङदेखि माथिल्लो क्षेत्रमा महाकाली साँघुरिएर बगिरहेको छ ।’
व्यास गाउँपालिका–५ धौलाकोटको पारितर्फको तवाघाटदेखि महाकाली नदी साँघुरिँदै गएको छ । सडक निर्माणका क्रममा चट्टान फोर्न प्रयोग गरिएको विस्फोटले पनि नेपाली बस्तीलाई जोखिममा पारेको छ । तवाघाट, तिउतला, बत्तिघाट, पांगलादेखि गर्भासम्म भारततर्फ र नदीको बीचसम्म ठूल्ठूला ढुंगा फालिएको छ । गर्भादेखिको माथिल्लो क्षेत्रमा भारततर्फको चट्टानी भूभाग फोरेर सडक खन्न विस्फोट गराउँदा त्यसको असर नेपाली भूभागसम्मै परेको बुढाथोकीको भनाइ छ ।
केही दिनअघि व्यास गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकी, दार्चुला–तिंकर योजनाका प्रमुख अच्युत पन्तलगायतको प्राविधिक टोलीले भारतले बनाइरहेको सडक र त्यसको असरबारे स्थलगत निरीक्षण गरेका थिए । विस्फोटकै कारण दुम्लिङदेखि दोपखेसम्मको दार्चुला–तिंकर घोरेटो बाटो ठाउँठाउँमा भत्किएको छ ।
विस्फोटका कारण माल्पा, घाटिबगडलगायत नेपाली भूभागमा पनि क्षति पुगेको व्यास गाउँपालिकाले जानकारी दिएको छ । ०७० सालमा पनि धौलीगंगा जलविद्युत् परियोजनाको ड्याम खोल्दा महाकाली तटीय क्षेत्रमा ठूलो जोखिम उत्पन्न भएको थियो । अहिले पनि महाकाली थुनिए तल्लो क्षेत्रका बस्तीलाई ठूलो क्षति पुग्ने स्थानीय बताउँछन् । ‘तटीय क्षेत्रका ती सबै बस्ती जोखिममा छन्,’ स्थानीय जयदेवसिंह धामीले भने, ‘दार्चुलालगायत अन्य जिल्लामा पनि यसले असर पुर्‍याउनेछ ।’ यही सडकको असरले व्यास गाउँपालिकाले बनाएको बाटो बर्खाका बेला भत्कने गरेको उनको भनाइ छ ।
भारतले सन् २०२० भित्र लिपुलेक नाका जोड्ने गरी सडक निर्माण गर्दै छ । गर्भादेखि माथिल्लो क्षेत्र र लिपुलेकबाट तल गरी दुई ठाउँबाट सडक निर्माणाधीन छ । भारतले सीमा क्षेत्रमा दुई लेनको सडक दशकअघि निर्माण थालेको हो ।

समाचार

हेलिकप्टर नपाउँदा अनुगमन रोकियो

- ऋषिराम पौड्याल

(काठमाडौं) - नेपाली सेनाले हेलिकप्टर उपलब्ध नगराएपछि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति भारतसँगको सीमा क्षेत्र कालापानी अनुगमनमा तत्काल नजाने भएको छ । रक्षा मन्त्रालयलाई हेलिकप्टर उपलब्ध गराउन गरेको लिखित अनुरोध अस्वीकृत भएपछि समिति अनुगमनमा नजाने निर्णयमा पुगेको हो । संसद् सचिवालयले सांसदलाई भ्रमण गराउने र बजेट खर्च गर्ने स्वीकृति दिन नसक्ने जानकारी दिएपछि समितिले रक्षा मन्त्रालयमार्फत सेनाको हेलिकप्टर मागेको थियो ।
भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरासहितको नेपाली भूमिलाई आफूतिर पारेपछि समितिले अनुगमनका लागि मंसिर ११ मा कालापानी क्षेत्र जाने निर्णय गरेको थियो । समितिबाट हेलिकप्टर उपलब्ध गराइदिन अनुरोधपत्र आएको रक्षाका प्रवक्ता शान्तबहादुर सुनारले बताए । मन्त्रालयको सल्लाहमै सेनाले आन्तरिक समस्या देखाउँदै हेलिकप्टर दिन असमर्थता जनाएपछि समितिको अनुगमन रोकिएको हो । यसबारे समिति सभापति शशि श्रेष्ठले अनुगमनमा जान नसक्ने जानकारी सांसदहरूलाई दिइसकेकी छन् । सांसद झपट रावलले भने प्राविधिक कारणले अनुगमन रोकिएकाले सोमबार बस्ने समिति बैठकमा कालापानी जाने विषयमा पुनः छलफल हुने दाबी गरे ।
सचिवालयले बजेट दिन नमिल्ने भएपछि रक्षा मन्त्रालयमार्फत हेलिकप्टर व्यवस्था गर्न सकिने सुझाव दिएको समितिका सदस्य तथा सांसद दिलेन्द्रप्रसाद बडूले बताए । ‘गम्भीर विषय भएकाले बैठकले जानैपर्ने निर्णय गरेको हो,’ उनले भने ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने मौखिक रूपमा हेलिकप्टर माग भएको बताए । ‘लिखित रूपमा पत्र पठाउन मैले नै भनेको हुँ,’ उनले भने, ‘त्यसपछि के भयो, थाहा छैन ।’ सीमा क्षेत्रमा सेनाको हेलिकप्टर उडाउँदा भारतलाई गलत सन्देश जान सक्ने भएकाले रक्षाका अधिकारी असहमत भएको मन्त्रालय स्रोतको भनाइ छ । ‘यस्तो संवेदनशील विषयमा छिमेकीसँग कूटनीतिक छलफल गर्नुको विकल्प छैन । सडकमा उफ्रे जसरी कूटनीति चल्दैन,’ मन्त्रालयका एक अधिकारीले भने ।
कालापानी मात्र नभई विवादित सबै नाकामा जाने निर्णय भएको समिति सभापति श्रेष्ठले बताइन् । हेलिकप्टरका लागि रक्षा मन्त्रालयमा पत्र लेखिएको विषयबारे आफूलाई जानकारी नभएको उनको भनाइ छ । ‘समितिले कहाँ जाने भन्ने निर्णय गर्ने हो, व्यवस्थापन सचिवालयले गर्ने भएकाले उसले के गर्‍यो थाहा छैन,’ उनले भनिन् । सांसदको भ्रमण र आन्तरिक बजेट खर्चका लागि सभामुखबाट अनुमोदन गराउने प्रावधान रहेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

समाचार

'विवाद समाधानमा पहल भएन'

- कान्तिपुर संवाददाता

(काठमाडौं) - प्रमुख प्रतिपक्ष कांग्रेसले नेपाली भूमि कालापानी र लिपुलेक फिर्ता गर्न सरकारले उच्चस्तरीय कूटनीतिक पहल नगरेको भन्दै चिन्ता प्रकट गरेको छ । कालीपानीबाट भारतीय सुरक्षा बल फिर्ता गराउने राष्ट्रिय एकताको ऐतिहासिक अवसर गुम्न सक्ने आशंका बढेको कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मलेनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
‘नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत गाँसेर नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दासमेत सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गम्भीर ढंगले नगर्नु अत्यन्तै दुःखद छ,’ पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘कांग्रेसलगायत सबै दल र समस्त नेपालीको सम्पूर्ण साथका बाबजुद सरकारले परिणाममुखी पहल गर्न नसक्नु लज्जास्पद विषय हो । हिजोको उग्र राष्ट्रवादको नारा यो प्रकरणमा आइपुग्दा विसर्जित हुँदै गएको छ ।’ यस विषयमा गम्भीर भएर पहलकदमी लिन कांग्रेसले सरकारलाई पुनः आह्वानसमेत गरेको छ । कांग्रेसले उपनिर्वाचनका क्रममा सत्तापक्षबाट आचारसंहितासमेत उल्लंघन भएको आरोप लगाएको छ । प्रदेशका मुख्यमन्त्रीसमेत चुनाव प्रचारमा संलग्न भएको र कैयौं स्थानमा सरकारी साधनको दुरुपयोग भएको कांग्रेसको दाबी छ ।

ॅलिम्पियाधुरा त्रिदेशीय सीमाविन्दु’
दार्चुला (कास)– भारतले नयाँ राजनीतिक नक्सामा आफ्नो भूमिसमेत समेटेकामा आपत्ति जनाउँदै व्यास गाउँपालिकाले आपत्ति जनाएको छ । व्यासले बुधबार विज्ञप्ति जारी गरेर लिम्पियाधुरा त्रिदेशीय सीमाविन्दु भएको उल्लेख गरेको छ ।
भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेको विषयमा केन्द्रीय सरकारले कूटनीतिक तवरबाट जतिसक्दो छिटो आवाज उठाउनुपर्ने व्यास गाउँपालिकाको माग छ । गत कात्तिक २२ मा पनि व्यासले विज्ञप्ति जारी गरेर नेपाल सरकारले यथाशक्य कूटनीतिक पहल गरी राज्यकै सामरिक क्षेत्रको भूमि फिर्ता गर्न माग गरेको थियो । व्यास गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकी, प्रवक्ता धीरेन्द्रसिंह बुढाथोकी र वडा नं ५ का अध्यक्ष मंगलसिंह धामीले हस्ताक्षर गरेको विज्ञप्तिमा त्रिदेशीय सीमा क्षेत्रमा राज्यको उपस्थिति नहुँदा चोरी तस्करी तथा भूमि अतिक्रमणका घटना बढेकाले सुरक्षा निगरानी बढाउन पनि माग गरिएको छ । व्यास गाउँपालिकाको छाङ्रुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) राख्ने प्रक्रिया अगाडि बढेको भए पनि ठोस परिणाम नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकाले सामरिक क्षेत्र भएकाले नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको स्थायी पोस्ट स्थापना गरी बाह्रै महिना सुरक्षा निकाय बस्ने संरचना निर्माण गर्न माग गरेको छ । सशस्त्र प्रहरीका लागि व्यास गाउँपालिका–१ छाङ्रुमा १५ रोपनी जग्गा स्थानीयले चैतमै उपलब्ध गराएको र जिल्लाबाट गृह मन्त्रालय हुँदै वन मन्त्रालयमा पुगेर प्रक्रिया रोकिएको विज्ञप्तिमा उल्लेख छ । लामो समयदेखि निर्माणाधीन त्रिदेशीय सीमा जोडने तिंकर सडकको काम कछुवा गतिमा भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन माग गरिएको छ । सीमासम्बन्धी समस्या समाधानमा सबै राजनीतिक दलहरू एक हुनुपर्नेमा व्यास गाउँपालिकाले जोड दिएको छ ।

समाचार

अमेरिका पस्न खोज्दा अलपत्र

- कान्तिपुर संवाददाता

(काठमाडौं) - तस्करलाई पछ्याउँदै अमेरिका छिर्न खोज्दा नेपालीहरू अफ्रिकीलगायत विभिन्न देशमा अलपत्र पर्ने क्रम बढेको छ । अध्यागमन विभागको पहलमा शुक्रबार दिउँसो मात्रै इन्डोनेसियाको अध्यागमनको नियन्त्रणमा परेका ५ जना काठमाडौं फर्किर्एका छन् । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको समन्वयमा एक महिनायता मात्रै मलावीबाट चार र इथियोपियाबाट ६ जनालाई फर्काइएको छ ।
इन्डोनेसियाबाट फर्किएका पाँचमध्ये दुई जना गत फागुन १६ गते र तीन जना फागुनकै पहिलो साता अमेरिका जान भन्दै इन्डोनेसिया उडेका थिए । उनीहरूमध्ये तीन जना रुकुमका हुन् भने रोल्पा र बाँकेका एक–एक जना । इन्डोनेसियाको अध्यागमनको नियन्त्रणमा १४ दिन बिताएर फर्किएकाहरूमध्ये एक जना १९ वर्षका मात्रै छन् । संगठित मानव तस्करको गिरोहले उनीहरूलाई काम हुँदैछ भन्दै महिनौंसम्म इन्डोनेसियामा अलपत्र पारेर राखेको थियो । फर्किएकामध्ये दुईले आफूहरूलाई एजेन्टले इन्डोनेसियाबाट इथियोपिया पुर्‍याएर ३६ दिनसम्म राखेर इन्डोनेसिया नै फर्काएको बताए । ती दुईलाई एजेन्टले फेरि सिंगापुर छिराउने प्रयास गरे पनि कागजात नमिलेपछि पुनः इन्डोनेसिया फर्किएका थिए । अन्य तीनलाई भने काठमाडौंबाट मलेसिया हुँदै इन्डोनेसिया पुर्‍याइएको थियो ।
छ महिना अलपत्र परेका उनीहरू नेपाल फर्किन खोजेपछि ओभरस्टे भएका कारण अध्यागमनको नियन्त्रणमा परेका हुन् । उनीहरूलाई अध्यागमन विभाग र नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको पहलमा नेपाल ल्याइएको हो । खर्च अभावमा अलपत्र परेका उनीहरूलाई परिवारका सदस्यले जहाज टिकटको प्रबन्ध मिलाइदिएका थिए ।
अवैध रूपमा मेक्सिको हुँदै अमेरिका छिर्ने सपना बोकेका उनीहरूमध्ये दुईले २७ लाख रुपैयाँ गुमाएका छन् भने दुई जनाले करिब २० लाख र एक जनाले १५ लाख रुपैयाँ सिध्याएका छन् । ‘कुकुरले नपाउने दुःख पाएर फर्कियौं,’ उनीहरूमध्येका एक जनाले भने । आफूहरूसँगै अमेरिका छिर्ने भन्दै हिँडेकामध्ये केही मेक्सिको, पानामा र कोस्टारिका पुगेको उनीहरूले जानकारी दिए ।
मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार अफ्रिकी देश मलावीमा अझै सात नेपाली अलपत्र छन् । उनीहरू भियतनाम, मादागास्कर, जोर्डन, दुबई, अजरबैजान हुँदै त्यहाँ पुगेका हुन् । यसरी नै गएका केही भने थप पैसा दिए मेक्सिको हुँदै अमेरिका छिर्न पाइने आसमा बसेका छन् ।
मलावीबाट फर्केका एक पीडितका अनुसार त्यहाँसम्मको यात्रामा प्रत्येकले २० लाख रुपैयाँ हाराहारी बुझाएका छन् । ‘यत्तिको पैसा त फसिहाल्यो, अब एक–दुई लाख थपे अगाडि बढ्न सकिन्छ भनेर कतिपय उतै लुकेर बसिरहेका छन्,’ उनले भने । इथियोपियाबाट मंसिर पहिलो साता फर्केका चार जनाले पनि जनही २० लाखभन्दा बढी गुमाएको ब्युरोले जनाएको छ । कात्तिक २६ मा ब्युरोले मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका ४ नेपालीको उद्धार गरेको थियो । ब्युरोका डीएसपी नरहरि रेग्मीले व्यक्तिगत चिनजानका आधारमा मलावी प्रहरीका एक उच्च अधिकारीलाई सूचना दिएपछि उद्धार सम्भव भएको हो । उनीहरूले नेपाल छाडेको एक वर्ष भएको थियो ।
केही महिनाअघि मात्रै अमेरिका हिँडेका दाङका ११ जना यस्तै अर्को रुटमा फसेका थिए । उनीहरूलाई काठमाडौंबाट भारत, भियतनाम हुँदै रुसको मस्को पुर्‍याइएको थियो । मस्कोमा केही साता बसेपछि एजेन्टकै सल्लाहमा दुबई हुँदै नेपाल फर्केका एक पीडितले सँगै गएका कोही दुबई अध्यागमनको नियन्त्रणमा त केही भियतनाममा अलपत्र रहेको सुनाए । उनका अनुसार पहिलो पटक मेक्सिको पुर्‍याइदिने भन्दै रुसबाट फर्काएको उक्त एजेन्टले दोस्रो पटक काठमाडौंबाट दिल्ली हुँदै भियतनाम पुर्‍याएको थियो । त्यहाँबाट अघि बढाउन नसकेपछि काठमाडौं नै फर्काइएको हो । ‘तेस्रो पटक पनि काठमाडौंबाट दुबईका लागि उडायो । तर त्यहाँबाट अगाडि बढाउन नसकेपछि ओभरस्टेको शुल्क तिरेर आफन्तहरूले नै नेपाल फर्काए,’
उनले भने ।
दाङ तुलसीपुरका लोकराज पराजुली पनि ओभरस्टे भएपछि दुबई अध्यागमनको नियन्त्रणमा परेका थिए । अमेरिका छिर्ने सपनामा उनले १६ लाख गुमाए । उनलाई आफन्तले रकम तिरेर फर्काएका हुन् ।

Page 3
समाचार

प्रधानमन्त्रीलाई 'संक्रमणबाट जोगाउन' आईसीयूमै

चिकित्सक भन्छन्, ‘१० दिनजतिमा कसैको सहयोगमा कुरा गर्न, अन्तर्वार्ता दिन सक्नुहुन्छ’
- अतुल मिश्र

(काठमाडौं) - मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै आईसीयूमा राखिएको छ । सम्भावित संक्रमणबाट जोगाउन उनलाई आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्री ओलीलाई काममा फर्कन करिब १० दिन लाग्ने पनि उनीहरूले आकलन गरेका छन् ।
‘एपेन्डिसाइटिस’ सहित ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) देखिएपछि गत मंगलबार प्रधानमन्त्री ओलीको उक्त सेन्टरमा शल्यक्रिया गरिएको थियो । उनलाई थप कति दिन आईसीयूमा राख्ने भन्ने चिकित्सकहरूले खुलाएका छैनन् । उपचारमा संलग्न डा. सुवास आचार्यले पेटको घाउ आलै रहेका कारण बाहिर सारे अन्य संक्रमण हुने जोखिम भएकाले प्रधानमन्त्री ओलीलाई आईसीयूमै राखिएको बताए । ‘स्वास्थ्य अवस्था, क्षमता, गतिशीलता, खानपान हेरेर आईसीयूबाट बाहिर राख्ने विषयमा निर्णय गरिन्छ,’ सेन्टरले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा. आचार्यले भने ।
ओलीको एपेन्डिक्सको शल्यक्रिया गरेका डा. रमेशसिंह भण्डारीका अनुसार प्रधानमन्त्रीको शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाले मंगलबार संक्रमण सुरु भएको २–४ घण्टामै पेटभरि फैलिएको थियो । ‘उहाँको शरीरमा सामान्य व्यक्तिको दाँजोमा अत्यन्त छिटो संक्रमण फैलियो,’ उनले भने । पेटभरि एपेन्डिक्सको संक्रमण फेलिएकाले ‘ल्यापरोटोमी’ (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) गरेर एपेन्डिसाइटिस हटाइएको थियो । ‘मंगलबार यहाँ आउँदा प्रधानमन्त्री धेरै बिरामी हुनुहुन्थ्यो,’ डा. भण्डारीले भने, ‘शल्यक्रियापछि संक्रमणको असर अलिअलि पेटमा भयो, रगतमा समेत भयो । तर हामीले आशंका गरेकोसम्म भएन । सोचेभन्दा राम्रो सुधार देखिएको छ ।’
शल्यक्रियाको प्रभाव र यसको संक्रमण नियन्त्रण भइसकेको जानकारी दिँदै उनले पछि देखिन सक्ने जटिलता र संक्रमणको डर मात्र रहेको बताए । उनले प्रधानमन्त्री आफ्नो काममा करिब १० दिनमा फर्कन सक्ने बताए । ‘प्रधानमन्त्रीले १० दिनजतिमा कसैको सहयोगमा कुरा गर्न, अन्तर्वार्ता दिन सक्नुहुन्छ,’ उनले भने, ‘तर शल्यक्रियाको घाउको स्थिति कस्तो हुन्छ, त्यो पनि महत्त्वपूर्ण छ ।’
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले ओली खतरामुक्त रहेको जानकारी दिइन् । ‘तर भविष्यको कुरा समयले नै बताउँछ,’ उनले भनिन्, ‘शल्यक्रिया आफैंमा शतप्रतिशत सुरक्षित प्रक्रिया होइन । प्रत्यारोपण गरेको व्यक्तिमा एपेन्डिक्सको लक्षण ढिलो थाहा पाउने वा नपाउने पनि हुनसक्छ, किटाणु अत्यन्त तीव्र गतिले फैलिन्छ ।’ डा. शाहका अनुसार शल्यक्रियाले गर्दा रक्तस्रावको जोखिम भएकाले उनलाई बिहीबार प्लेटलेट्स चढाइएको थियो ।
प्रधानमन्त्रीको हालको स्वास्थ्य अवस्थाले सम्भावित मिर्गौला प्रत्यारोपणको समयलाई धेरै पर नसार्ने डा. शाहले बताइन् । ‘सबै चिज सोचेअनुसार भयो र एपेन्डिक्सको घाउ भरियो भने प्रत्यारोपणको समय पछाडि सर्दैन,’ उनले भनिन् । प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण कहाँ गर्ने भन्ने निर्क्योल भइनसकेको डा. शाहले बताइन् ।
‘यहीँकै निजी वा सरकारी कुनै क्षेत्रमा पनि गर्न सकिन्छ,’ उनले भनिन्, ‘नेपाल प्रत्यारोपणमा आत्मनिर्भर छ ।’ उनले डायलसिसमै बस्दा पनि खासै फरक नपर्ने संकेत गरिन् । ‘मानिसले डायलसिसमै बसेर १०–२० वर्षसम्म काम गर्न सक्छन्,’ उनले भनिन्, ‘पत्यारोपणको फाइदा डायलसिसको झन्झटबाट मुक्त हुनु र अलि राम्रो स्वास्थ्य अवस्था पाउनु हो ।’ उनले प्रधानमन्त्री ओलीका लागि प्रत्यारोपण गर्न एकदम हतार गर्नुपर्ने अवस्था नरहेको बताइन् । ‘अनुकूल समय पारेर उहाँको प्रत्यारोपण गर्न सकिन्छ,’ उनले भनिन् ।
यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार प्रधानमन्त्री ओलीसँग भेटेर उपचारमा संलग्न चिकित्सहरूबाट स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

समाचार

‘सिद्धबाबा’ विरुद्ध बलात्कारको उजुरी

- कान्तिपुर संवाददाता
चतरामा नवनिर्मित १ सय २८ कोठाको आश्रम र सिद्धबाबा भनिने कृष्णदास । तस्बिर ः प्रदीप मेन्याङ्बो/कान्तिपुर

(सुनसरी) - आफ्नो नाम फेरेर ‘सिद्धबाबा’ कहलिएका कृष्णबहादुर गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबर्जस्ती करणीको उजुरी दर्ता भएको छ । सुनसरीबाहिरकी एक अनुयायीले सिद्धबाबाले आफूलाई बराहक्षेत्रको चतरा आश्रममा बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन् । आफूविरुद्ध उजुरी परेपछि गिरी आश्रम छाडेर अस्पताल भर्ना भएका छन् ।
प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले महिलाको उक्त उजुरी दर्ता भएको पुष्टि गरे । ‘सरकारवादी मुद्दा भएकाले अब अदालतले जे आदेश दिन्छ, सोहीअनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउँछौं,’ उनले भने । उजुरी दर्ता गरे पनि प्रहरीले गिरीलाई पक्राउ गरिसकेको छैन । जिल्ला अदालतका एक अधिकृतले गिरीलाई पक्राउ गर्न अनुमति दिइएको जनाएका छन् ।
ती महिलाले घटना कात्तिक ४ गते भएको उजुरीमा उल्लेख गरेकी छन् । गिरी शुक्रबार बिहानदेखि आश्रम छाडेर कहाँ गएको भन्ने सहयोगीहरूले बताउन चाहेनन् । मुटुको समस्या रहेको भन्दै उनी विराटनगरको विराट नर्सिङहोममा भर्ना भएको स्रोतले बताएको छ । नर्सिङहोमको क्याबिनमा रहेका उनले आफ्ना केही विशेष सहयोगीबाहेक अरूसँग भेटेका छैनन् ।
बलात्कार घटनाको उजुरी स्थानीय प्रहरी कार्यालयले लिन नमानेपछि ती महिला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो पुगेकी थिइन् । ब्युरोले उजुरी जिल्लालाई फिर्ता पठाइदिएपछि मात्रै सुनसरीमा दर्ता भएको हो । ६ महिनायता आफूलाई सिद्धबाबा भनेर चिनाउँदै आएका गिरीलाई कृष्णदास महाराज भनेर पनि चिनिन्छ । विवादमा आइरहने गिरीले करिब दशकअघि पनि दुई किशोरीलाई बलात्कार गरेको घटना ढाकछोप गरिएको स्थानीय बासिन्दाले आरोप लगाउँदै आएका छन् । पाँच वर्षसम्म उनकै आश्रममा व्यवस्थापक भएर चतरामा बसेका भाइ कुमार गिरीले कृष्णबहादुरले पहिलैदेखि दैनिक यौनबर्द्धक जडीबुटी औषधि दूधसँग मिसाएर खाने गरेको सार्वजनिक रूपमा बताउँदै आएका छन् । अनावश्यक गतिविधि देखेपछि कुमार आश्रम छाडेर बेग्लै बस्दै आएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजनाको बराह क्षेत्रस्थित चतराको जग्गामा गिरीको सक्रियतामा आठ करोड रुपैयाँ लागतको १ सय २८ कोठाको वातानुकूलित आश्रम भवन निर्माण भएको छ । निर्माणका लागि दाताहरूको सहयोग पाएको उनले बताउँदै आएका छन् । उक्त भवनको हालसम्म नक्सापास भएको छैन ।
गिरीको जन्ममिति नै फरक भएको दुई नागरिकता रहेको यसअघि खुलेको थियो । भारतको अयोध्यामा करिब आठ महिनाअघि आयोजित कार्यक्रममा अनन्तश्री उपाधि पाएका गिरीले ०४८ फागुन १२ मा वंशजका आधारमा सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयबाट छविलाल गिरीको छोरा कृष्णबहादुर गिरी भएको पहिलो नागरिकता लिएका थिए । प्रमाणपत्र नम्बर २२२७/५९५ को उक्त नागरिकतामा उनको ठेगाना जुबु–१ र जन्ममिति २०३० मंसिर १० उल्लेख छ । दोस्रो नागरिकता जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ०६५ पुस १७ मा लिएका छन् । वंशजकै आधारमा निकालेका श्रीवैष्णव कृष्णदासको नाममा लिएको दोस्रो नागरिकतामा जन्मस्थान ठेगाना जुबु, बाबु छविलाल गिरी, स्थायी बासस्थान बराहक्षेत्र–१, जन्ममिति २०३१ फागुन १९ उल्लेख छ ।
पहिलो नागरिकतामा सोलुका प्रशासकीय अधिकृत भीमशेर रुम्दालीले प्रमाणित गरिदिएका छन् भने दोस्रो सुनसरीका प्रशासकीय अधिकृत वेदनिधि खनालले प्रमाणित गरिदिएका छन् । कृष्ण गिरीले पहिलो नागरिकता १८ वर्ष पुगेपछि लिएको देखिन्छ भने दोस्रो ३४ वर्षको उमेरमा लिएको देखिन्छ ।
कृष्णदाससँग पहिले निकट भएर चतरामा पाँच वर्षभन्दा बढी समय बसे पनि पछिल्लो समयमा आश्रमबाट निस्केकाहरूले दिएको जानकारीअनुसार बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट आयुर्वेदमा आचार्य गरेको प्रमाणपत्र कृष्णदासले कुरियरमार्फत प्राप्त गरेका हुन् । कृष्णदाससँग निकट भएर बसे पनि हाल आफ्नै घरव्यवहारमा रमाइरहेका अर्का शिष्यका अनुसार भक्तजन र नेता, मन्त्री र भारतका अन्य सन्त–महन्थहरूलाई प्रभावित पार्न आफूले चेन्नाईको सेन्ट जोसेफमा मेट्रिक, बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट व्याकरणमा आचार्य, आयुर्वेदमा आचार्य, ज्योतिषमा आचार्य, योगमा आचार्य र विद्यावरिधि पनि गरेको बताउँदै आएका छन् । कतिपयलाई वनस्पति विज्ञान पनि पढेको भन्ने गरेका छन् । उनले ०६५ सालदेखि आफ्नो नामको अगाडि ‘डाक्टर’ लेख्दै आएका छन् । आफन्तका अनुसार गाउँबाट उनी ०४९ सालतिर भारत गएका थिए । त्यसबेला उनको उमेर १८ वर्ष थियो । आठ वर्षपछि ०५७ सालमा फर्केर आउँदा उनी सन्तले लगाउने पहिरनमा थिए । दाजुका बारेमा कुमारले भने, ‘दाइले कक्षा सातसम्म पढेको थाहा छ तर उनले भन्ने अर्थोक पढेको थाहा छैन ।’

समाचार

मेडिकल कलेजले फेरि थप शुल्क माग्न थाले

- सुदीप कैनी

(काठमाडौं) - एमबीबीएस र बीडीएस पहिलो र दोस्रो वर्षको शुल्क समायोजन गर्ने सहमति कार्यान्वयन नहुँदै मेडिकल कलजेहरूले तेस्रो र चौथो वर्षका विद्यार्थीसँग अतिरिक्त शुल्क माग्न थालेका छन् । भैरहवास्थित युनिभर्सल र पोखराको गण्डकी मेडिकल कलेजले विभिन्न शीर्षकमा अतिरिक्त रकम लिन विद्यार्थीलाई शुल्क चिट वितरण गरेका छन् । तेस्रो वर्षका विद्यार्थीसँग ५ लाख १४ हजार र चौथो वर्षका विद्यार्थीसँग ४ लाख ६४ हजारभन्दा बढी रकम मागिएको हो ।
दुवै कलेजले सरकारले तोकेकै शुल्कमा पढाउने र बढी शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएका थिए । गण्डकीले गत फागुनमै शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाए पनि अझै पूरा गरेको छैन । सञ्चालकविरुद्ध कास्की अदालतमा दायर गरिएको ठगी मुद्दा विचाराधीन छ ।
यी दुई कलेजले शिक्षा कर भनेर सरकारले तोकेको शिक्षण शुल्कको एक प्रतिशत रकम मागेका छन् । सरकारले उपत्यकाबाहिर एमबीबीएसका लागि ४२ लाख ४५ हजार र बीडीएसका लागि १९ लाख रुपैयाँ शुल्क तोकेको छ । विश्वविद्यालय परीक्षाबापत ५४ देखि ७१ हजार, संस्थागत शुल्क २६ हजार, कम्युनिटी फिल्ड भिजिटका लागि २२ हजार र आन्तरिक परीक्षाबापत १४ देखि १८ हजार रुपैयाँ माग गरिएको हो । १० वटा शीर्षक बनाएर कलेजले बढी रकम माग्न थालेको गण्डकीका एमबीबीएस तेस्रो वर्षका छात्र अनित सिन्हाको गुनासो छ । शिक्षा मन्त्रालय र कलेज सञ्चालकबीच भएको सहमतिमा पहिलो र दोस्रो वर्षका विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्ने, तेस्रो र चौथो वर्षको हकमा चिकित्सा शिक्षा आयोगले छानबिन गर्ने भनिएको थियो ।
विद्यार्थी भने सरकारले कलेज सञ्चालकसँग गरेको सम्झौता आफूहरूलाई अमान्य भएको बताउँदै आएका छन् । सम्झौता जलाएर उनीहरूले आन्दोलनका कार्यक्रमलाई अघि बढाएका छन् । सरकारले सञ्चालकसँग गरेको सम्झौता सच्याउनुपर्ने चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक मिलन गैरेको भनाइ छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै फेरि बढी शुल्क माग्न थालेको जनाएको हो । ‘सबै ब्याचका विद्यार्थीबाट बढी रकम लिइएको प्रमाण छ,’ गैरेले भने, ‘पहिलो र दोस्रो वर्षको मात्र समायोजन गर्ने भनेर विद्यार्थी आन्दोलनमा विभाजन ल्याउन खोजियो ।’ अवैध शुल्क लिनेलाई ठगी मुद्दा चलाउनुपर्नेमा सरकारले मेडिकल कलेजको पक्षमा सम्झौता गरेको उनको भनाइ छ । ‘शुल्क समायोजन भनेर अमूर्त कुरा गरियो, कहिलेसम्म गर्ने, कसरी गर्ने भन्ने केही उल्लेख छैन,’ उनले भने, ‘कलेजहरूले विद्यार्थीपिच्छे ५/५ लाखका दरले बढी पैसा माग्न थालेका छन् ।’ बढी लिइएको रकम समायोजन गरिनुपर्ने विद्यार्थीको माग छ ।

समाचार

‘टु प्लस वान अवधारणा उपयुक्त होइन’

- कान्तिपुर संवाददाता

(काठमाडौं) - नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीच बराबरीको सम्बन्ध हुनुपर्ने बताएका छन् । नेपाल चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले तीन देशबीचको सम्बन्धलाई ‘दुई प्लस वान’ भन्न उपयुक्त नहुने बताए । ‘हामीले चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारी चाहेका छौं,’ दाहालले भने, ‘चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको ‘टु प्लस वान’ अवधारणा उपयुक्त छैन ।’
पछिल्लो पटक चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच छलफल हुँदा त्रिदेशीय साझेदारीको रणनीतिअन्तर्गत ‘टु प्लस वान’ भन्ने शब्द प्रयोग भएको छ । ‘यो शब्द जसरी प्रयोग भएको छ र यसले जे अर्थ बोक्न खोजेको छ, मलाई त्यति उपयुक्त लागेको छैन,’ अध्यक्ष दाहालले भने । ‘त्रिदेशीय साझेदारीले सकारात्मक वातावरण बनाउन सक्छ,’ उनले भने, ‘टुले विशेष अधिकार प्राप्त जस्तो र वानले जोडिएको सामान्य जस्तो अर्थ दिन्छ ।’
चिनियाँ राष्ट्रपति भारतको बाटो भएर नेपाल भ्रमणमा आउनुलाई बेवास्ता गर्न नहुने दाहालले बताए । ‘भारत नै गएर नरेन्द्र मोदीसँग सात–आठ घण्टा कुरा गरेर नेपाल आउनुपर्ने परिस्थितिले त्रिदेशीय साझेदारीको हाम्रो सोचलाई र हामीले अगाडि सार्न खोजेको रणनीतिको महत्त्वलाई स्थापित गरेको छ,’ उनले भने ।
नेपालका राजनीतिज्ञ, बुद्धिजीवीहरू ‘प्रो–चाइनिज’, ‘प्रो–इन्डियन’ र ‘प्रो–अमेरिकन’ हुने गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले अब सबै ‘प्रो–नेपाली’ भएर नेपालको विकास निर्माणमा केन्द्रित हुने बेला आएको बताए । दाहालले नेपालका पार्टी र नेताहरूले चीनको अध्ययन गर्ने र उताबाट पनि आएर नेपालको अध्ययन गर्ने सहमति भएको सुनाउँदै आफू चीन जान लागेको जानकारी दिए ।
‘सहमतिपछि पहिलो टोली छिट्टै चीन भ्रमणमा जाँदै छ । उहाँहरू (चीन) ले मेरो नेतृत्वमा आइदियोस् भनेर प्रधानमन्त्री र मलाई पनि भन्नुभएको छ । म जाँदै पनि छु ।’ उनले चिनियाँ राष्ट्रपति सीकै निम्तोमा चीन लागेको पनि बताए । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अलग–अलग सन्दर्भमा आठ पटक भेटेको स्मरण गर्दै उनले सीसँग खुलेर कुरा गरेको र आपसमा ‘एक खालको’ सम्बन्ध रहेको पनि बताए ।
कार्यक्रममा कांग्रेस नेता रामशरण महतले नेपालमा चीनको लगानी बढाउन पहल गर्नुपर्ने बताए । उनले चीनको लगानीमा उत्पादन बढाएर चीनमै निर्यात गर्नुपर्ने बताए । नेता महतले नेपाल र चीनबीच पहिलेदेखिकै राम्रो आउजाउलाई अझै बढाउनुपर्ने भनाइ राखे । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेपाल सधैं चीनको साथमा रहेको र त्यसलाई नेपालको एक चीन नीतिले पुष्टि गर्ने बताए ।

समाचार

७०.५ प्रतिशत प्रगति ः श्रम मन्त्रालय

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गरेबमोजिम प्रथम चौमासिकमा ७०.५ प्रतिशत प्रगति हासिल गरेको दाबी गरेको छ ।
आफ्नो कार्यक्षेत्रभित्र पर्ने वैदेशिक रोजगारी व्यवस्थापन, आन्तरिक रोजगार, श्रम सम्बन्ध, सीप विकास र सामाजिक सुरक्षामा ७०.५ प्रतिशत प्रगति भएको मन्त्रालयका प्रवक्ता रामप्रसाद घिमिरेले बताए । ‘प्रधानमन्त्रीले सम्झौता गरेअनुसार प्रथम चौमासिकमा १.५ प्रतिशत मात्रै काम सुरु हुन बाँकी छ । ७०.५ प्रतिशत प्रगति भएको छ । २८ प्रतिशत योजना चालु छन्,’ उनले भने, ‘प्रथम चौमासिकको कुल बजेटको ४४ प्रतिशत खर्च भएको छ ।’
श्रमले कुल बजेटको झन्डै ८७ प्रतिशत बजेट प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोडिएको जानकारी दिएको छ । यो कार्यक्रममा ५ अर्ब एक करोड बजेट विनियोजित छ । ‘प्रधानमन्त्री रोजगारी कार्यक्रम सीधै स्थानीय तहका सरकारसँग जोडिएको छ । हामीले प्रथम चौमासिकमा स्थानीय तहसँग रोजगार सिर्जना हुने आयोजनाको माग गर्ने गरी प्रस्ताव माग्ने सम्झौता गरेका हौं । आयोजना प्रस्ताव पेस गर्ने मिति मंसिर मसान्तसम्मको समयसीमा राखिएको छ,’ प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख प्रकाश दाहालले भने, ‘दोसो चौमासिकमा मात्रै प्रस्तावअनुसार स्थानीय तहलाई बजेट दिनेछौं ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको प्रतिवेदनअनुसार भने श्रम मन्त्रालयले प्रथम चौमासिकका लागि छुट्याएको बजेटमध्ये ५.७ प्रतिशत मात्रै खर्च गरेको देखिएको छ । कात्तिक मसान्तसम्म एक सय ३२ वटा योजना सम्पन्न वा सुरु हुनुपर्नेमा २६ सम्पन्न, एक सय २ चालु र ४ योजना सुरु नभएको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयमा शुक्रबार प्रथम चौमासिक योजनाको विस्तृत छलफल भएको थियो ।

 

Page 4
वाग्मती प्रदेश

टीयू र एएफयूबीच पुनः विवाद

- सुवास विडारी

(मकवानपुर) - निर्माणाधीन विश्वविद्यालय भवनको विषयलाई लिएर कृषि तथा वन विश्वविद्यालय (एएफयू) र त्रिभुवन विश्वविद्यालय (टीयू) बीच पुनः विवाद उत्पन्न भएको छ । दुवै विश्वविद्यालयले हेटौंडा–१० मा वनविज्ञान विज्ञान संकाय सञ्चालन गरिरहेको स्थानमा प्रदेश सरकारको १० करोड लगानीमा बन्न लागेको भवनलाई लिएर पुनः विवाद देखिएको हो । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरी टीयूले एएफयूले तोकिएको जग्गाभन्दा फरक स्थान अतिक्रमण गरी अदालतको आदेशविपरीत काम गरेको आरोप लगाएको छ ।
वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसले तोकिएको स्थानभन्दा अन्यत्र जग्गा अतिक्रमण गरेर भवन निर्माण सुरु गरेको भन्दै उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा दायर गरेको थियो । साउन ८ मा न्यायाधीश टेकराज नेपाल र चण्डीराज ढकालको संयुक्त इजलासले जग्गा विवाद अन्तिम टुंगो नलागेसम्म रुख कटान तथा भवन निर्माणका काम नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर आदेशविपरीत एएफयूले भवन निर्माणलाई निरन्तरता दिएको भन्दै टीयूले विरोध गरेको हो । ‘अदालतको आदेश अवज्ञा गर्दै भवन बनाएको जानकारी गराए पनि प्रशासन मौन रहेको छ, हामी त्यसविरुद्ध संघर्ष गर्छौं,’ हेटौंडा क्याम्पस प्रमुख विजयकुमार यादवले भने ।
०६७ मा एएफयुअन्तर्गत हेटौंडामा वन विज्ञान संकाय स्थापना भएको हो । मन्त्रिपरिषद् र त्रिभुवन विश्वविद्यालय सभाको निर्णयअनुसार वन विज्ञान अध्ययन संस्थानको स्वामित्वमा रहेको जग्गामध्ये पश्चिम दक्षिणको ६० बिघा वन विज्ञान संकायलाई दिइने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
टीयूले एक सय ५८ बिघा जग्गाको लालपुर्जा हालसम्म आफ्नै नाममा रहेको भन्दै एएफयूलाई भवन निर्माण गर्न नदिने अडान लिएको छ । वन विज्ञान अध्ययन संस्थानले भने ०६७ मा स्थापनाकालदेखि भोगचलन गरिरहेको र हालसम्म लालपुर्जा संस्थानकै स्वामित्वमा रहेको दाबी गरेको छ । वन विज्ञान संकायका डीन डा. बलराम भट्टले वन विज्ञान अध्ययन संस्थान नै एएफयूमा गाभिइसकेको दाबी गरे । विद्यार्थी भर्नादेखि जग्गा विवाद बढेपछि ०७४ मा सर्वोच्चले एएफयुमा ऐनअनुसार वन विज्ञान अध्ययन संस्थान गाभ्न अन्तरिम आदेश दिएको उनको भनाइ छ ।

वाग्मती प्रदेश

सडक कार्यालयप्रति जनप्रतिनिधि रुष्ट

- कान्तिपुर संवाददाता

रामेछाप (कास)– दुई दिनअघि जिरी नगरपालिका प्रमुख टंक जिरेल सडक विभागको खुर्कोट डिभिजन कार्यालय पसे । बिहान ११ बजे कार्यालयमा कोही थिएनन् । जिरीदेखि रामेछापको धारापानी जोड्ने सडक सुधारका लागि धेरैपल्ट फोन गर्दा सुनुवाइ नभएपछि डिभिजन पुगेका जिरेल कार्यालयको अवस्था हेर्दा अझ खिन्न भएर फर्किए ।
क्षतिग्रस्त सडकको स्तर सुधारका लागि रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले पनि सडक डिभिजन कार्यालयलाई गुहारे । तर, नगरपालिका क्षेत्रकै खाल्डाखुल्डीमा सडक कार्यालयले काम गरेन । कहिले प्रमुख त कहिले कार्यालयको टुंगो नभएको जवाफ पाएको थापामगरले बताए । कार्यक्रम, बजेट र कर्मचारी नहुँदा जिल्लाका प्रमुख सडक क्षतिग्रस्त हुने क्रम बढेको छ । पहिले समयमै सडकको स्तरोन्नति हुन्थ्यो । अहिले उक्त कार्य ठप्प छ । कार्यालय सुनसानजस्तै छ । कर्मचारी छैनन् । भएका कर्मचारीले काम पाएका छैनन् । रामेछाप बजार क्षेत्रको झन्डै एक किलोमिटर सडक कामै नलाग्ने भएको छ । उक्त सडक, सडक विभागको कार्यक्षेत्रभित्र पर्ने भएकाले नगरपालिकाले समेत लगानी गर्न सकेको छैन ।
जिल्ला सदरमुकाम रहेको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले सडक डिभिजन कार्यालयको कामप्रति आक्रोश पोख्दै आएका छन् । पटकपटक डिभिजनलाई मर्मतका लागि आग्रह गर्दा पनि काम नभएको उनले बताए ।
मन्थलीबाट रामेछाप जाने सडक दर्जनौं स्थानमा चर्किएको, पहिरो झरेको र भास्सिएको छ । डिभिजनका इन्जिनियर रामबहादुर विश्वकर्मा डिभिजन प्रमुखले राजीनामा दिएकाले समस्या आएको बताए । ‘अर्को डिभिजन प्रमुख आएपछि मात्रै कार्यक्रम अघि बढ्छ,’ उनले भने, ‘पहिलो चौमासिकमा पनि कुनै काम हुन सकेन ।’ उक्त डिभिजनको क्षेत्राधिकारमा रामेछाप जिल्ला सदरकामुकाम जोड्ने ३५ किलोमिटर र मन्थलीदेखि रामेछाप १३ किलोमिटर कालोपत्रे सडक र अन्य दुई महत्त्वपूर्ण सडक पर्छन् ।

वाग्मती प्रदेश

मानवअधिकार आयोगले थाल्यो अध्ययन

- कान्तिपुर संवाददाता
‘बोक्साबोक्सी’ आरोपमा सामाजिक बहिष्कार पीडित श्रेष्ठ दम्पती । फाइल तस्बिर ः कान्तिपुर

(दोलखा) - गाउँलेले निर्णय नै गरेर ‘बोक्साबोक्सी’ आरोप लगाएको उजुरी परेपछि दोलखाको दुर्गम उत्तरी बिगु गाउँपालिका–५ स्थित स्याखुमा राष्ट्रिय मानवअधिकार आयोगको टोलीले स्थलगत अध्ययन थालेको छ । आयोग प्रवक्ता मोहना अन्सारीसहितको टोली शुक्रबार पीडित रत्नबहादुर श्रेष्ठ र पत्नी कृष्णमायाको घर पुगेर अध्ययन थालेको हो ।
‘उहाँहरूको घरमा ताला लगाएको पाइयो,’ प्रवक्ता अन्सारीले भनिन् । टोलीले स्थानीय बासिन्दासँग घटनाको यथार्थ बुझेको छ । गाउँलेले तीनवटा एजेन्डामा नौ घण्टासम्म छलफल नै चलाएर श्रेष्ठ दम्पतीलाई ‘बोक्साबोक्सी’ भन्ने प्रमाणित गर्न लगाई ल्याप्चेसमेत लगाउन बाध्य पारेको उजुरी आयोगमा परेको थियो । टोलीले सिंगटीस्थित प्रहरी चौकीबाट पनि जानकारी लिएको छ । ‘जिल्ला प्रहरी कार्यालयबाट थप जानकारी र प्रक्रिया बुझेपछि अरू अनुसन्धानमा सहयोग पुग्छ,’ प्रवक्ता अन्सारीले भनिन् ।
निर्णयको प्रतिलिपि र चार घन्टा लामो अडियोको आधारमा कठोर र अमानवीय ढंगको व्यवहार गरेको प्रमाणसहित आयोगलाई गुहारेको पीडितका छोरा भाजु श्रेष्ठले बताए । ‘हाल बाआमा काठमाडौंमा उपचारका क्रममा हुनुहुन्छ,’ उनले भने, ‘घटनापछि आमालाई बढी समस्या देखिएको छ ।’
घटनामा संलग्नमध्ये रत्ननारायण श्रेष्ठलाई पक्राउ गरी अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरी नायब उपरीक्षक मानबहादुर राईले संलग्न अन्यको पनि खोजी भइरहेको बताए । उनका अनुसार सामाजिक बहिष्कार गर्ने नौ जनाविरुद्ध बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ अनुसार मुद्दा दर्ता भएको छ । रत्ननारायणसहित एक सय १३ जनाको भेलाले गत ७ गते गैरकानुनी व्यहोराको निर्णय गरी दम्पतीमाथि अमानवीय व्यवहार गरेको उजुरी परेको थियो । उक्त घटनापछि गाउँबाट विस्थापित भएपछि उनीहरू सुरक्षा माग गर्दै सदरमुकाम आएका थिए ।

वाग्मती प्रदेश

६० घरमा पाइपलाइनबाट ग्यास

- प्रमिता ढकाल

(भरतपुर) - राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले कार्यालयको आवास क्षेत्रमा पाइपलाइनमार्फत् ग्यास वितरणको सफल परीक्षण गरेको छ । कार्यालयमा पालिएका गाईको गोबरबाट उत्पादन गरिएको बायोग्यास घरघरमा पुर्‍याइएको हो । आवास क्षेत्रमा करिब ६० घरपरिवार बस्छन् । उनीहरूले एक महिनामा ३० देखि ४० एलपीजी ग्यास सिलिन्डर खपत गर्दै आएका छन् । चार सय मिटर पाइपलाइन बिछ्याएर घरघरमा ग्यास वितरण गरिएको राष्ट्र्रिय गाई अनुसन्धान कार्यक्रमका प्रमुख डा. माधवप्रसाद आचार्यले बताए । करिब १ करोड ६५ लाखको लागतमा बायोग्यास पुर्‍याउन सफल भएको उनले जानकारी दिए । ‘कृषि अनुसन्धान परिषद्को ६५ लाख र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ६५ लाख लागतमा सुरु गरिएको परियोजना सम्पन्न गर्दा थप ३० लाख खर्च बढ्यो,’ उनले भने ।
केन्द्रको प्राविधिक सहयोगमा दुई सय घनमिटर क्षमताको बायोग्यास प्लान्ट निर्माण गरिएको छ । मोडलका रूपमा निर्माण गरिएको बायोग्यास प्लान्टबाट ६० घरपरिवारलाई पुग्ने ऊर्जा सहजै उत्पादन हुने बताइएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रममा उत्पादन गरिएको ऊर्जा आवास क्षेत्रमा मात्रै प्रयोगमा ल्याउन सके एलपीजी ग्यासको आयात प्रतिस्थापनमा मद्दत पुग्ने डा. आचार्यले बताए । परीक्षण अवधिपछि न्यूनतम शुल्क लिएर ऊर्जा वितरण गर्ने उनको भनाइ छ । अनुसन्धान कार्यक्रमअन्तर्गत हाल रामपुरमा १७० वटा गाई छन् ।
पाइपलाइनबाट घरमा ग्यास आएपछि आवास क्षेत्रका परिवार खुसी छन् । ‘सकिएला भन्ने पिर पनि नहुने, सधैं सुविधा हुने भएपछि न्यूनतम शुल्क तिर्न हामीलाई पनि के समस्या ?’ संगीता आचार्यले भनिन् । पाइपलाइनबाट ग्यास वितरण गर्न करिब ६ महिनाअघिबाट प्राविधिक काम सुरु गरिएको थियो । अझै करिब दुई महिना परीक्षण अवधि पूरा गरेपछि मात्रै औपचारिक उद्घाटन गरिने कार्यक्रम प्रमुख आचार्यले बताए ।

वाग्मती प्रदेश

जरिवानाको २५ प्रतिशत प्रहरीलाई

- रमेशकुमार पौडेल
खोलामा गिट्टी, बालुवा उत्खनन् गरिँदै । फाइल तस्बिर ः कान्तिपुर

(चितवन) - अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई कारबाही गर्दा उठेको रकमको २५ प्रतिशत प्रहरीलाई ‘प्रोत्साहन’ स्वरूप उपलब्ध गराइएको छ । चितवन जिल्ला समन्वय समिति (जिसस) ले गत आर्थिक वर्षमा १२ लाख ५९ हजार रुपैयाँ जरिवाना संकलन गरेको थियो । नियम र मापदण्डविपरीत गिट्टी, ढुंगा, बालुवा उत्खनन् गर्नेहरूलाई कारबाही गरी उठाइएको जरिवाना रकमबाटै प्रहरीलाई ‘प्रोत्साहन रकम’ प्रदान गरिएको हो ।
‘नियमविपरीत हुने उत्खनन्मा ढुवानीका गाडी र उपकरण नियन्त्रणमा लिने चौकीलाई प्रोत्साहन रकम दिएका छौं,’ चितवन जिससका प्रमुख कृष्णकुमार डल्लाकोटीले भने । अघिल्लो आवमा भरतपुर महानगरले गिट्टी, ढुंगा उत्खनन्को स्वीकृति दिएर साढे ५ करोड, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाले ३/३ करोड रुपैयाँ आम्दानी गरे । चितवनमा सातवटा स्थानीय तह छन् । अन्य नगरपालिकाले एक करोड रुपैयाँभन्दा कम राजस्व आम्दानी गरेका छन् । गिट्टी, ढुंगा, बालुवा उत्खनन्को स्वीकृतिबाट जिल्लाका सबै स्थानीय तहमा गरेर करिब १५ करोड रुपैयाँ राजस्व आम्दानी भएको छ ।
नदीजन्य पदार्थ उत्खनन्को अनुगमन जिससले गर्छ । अघिल्लो वर्ष १३ पटक अनुगमन गरिएको जिसस प्रमुख डल्लाकोटीले बताए । ‘प्रहरीलाई चनाखो बनाउनका लागि रकमै दिएर प्रोत्साहित गर्न खोजेका हौं,’ उनले भने । प्रोत्साहन रकम सम्बन्धित प्रहरी कार्यालयको बैंक खातामा दाखिला गर्ने गरिएको छ । नदीजन्य पदार्थको जरिवानाबापत् प्राप्त रकमबाट प्रहरीलाई प्रोत्साहन गर्न ३ लाख ५० हजार प्रदान गरिएको विवरण हालै सम्पन्न चितवन जिससको जिल्लासभामा पेस भएको थियो । कार्यविधि बनाएरै जिससले प्रहरीलाई रकम दिएको प्रमुख डल्लाकोटीको भनाइ छ ।
‘अनुगमन नभए झनै समस्या आउँछ । अनुगमनमा जाँदा प्रहरीको पनि सहयोग चाहिन्छ,’ उनले भने, ‘जरिवानाको निश्चित रकम प्रहरीलाई दिए अनुगमनका लागि खट्ने बेला बजेट नभएर गाडी मर्मत नगरेको, डिजेल/पेट्रोल नभएको जस्ता गुनासा नआउलान् भनेर कार्यविधि बनाएरै प्रोत्साहन रकम दिएका हौं ।’ अन्य जिल्लामा जरिवानाको ४० प्रतिशतसम्म प्रोत्साहन रकम दिने चलन रहेको उनले बताए । चितवन प्रहरीका प्रवक्ता डीएसपी एकनारायण कोइराला विधि र प्रक्रियाअनुसार नै जिससबाट प्रोत्साहन रकम उपलब्ध भएको बताउँछन् । ‘गैरकानुनी कामलाई रोक्ने गतिविधिमा लागेको प्रहरीलाई विधिसम्मत प्रोत्साहन रकम दिनु बेठिक होइन,’ उनले भने ।
राजस्वको हिस्सा माग
जिससको आम्दानी स्रोत सीमित छ । चितवन जिससको हकमा गिट्टी, बालुवाको जरिवाना नै मुख्य स्रोत हो । स्थानीय तहले उत्खनन्को स्वीकृति दिनुअघि तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन जिससले स्वीकृत गर्छ । त्यसअनुसार भए/नभएको अनगुमन पनि गर्छ । तर, राजस्व स्थानीय तहले संकलन गर्ने भएकाले जिससले राजस्व बाँडफाँटमा पनि हिस्सा खोजेको छ । नदीजन्य र खानीजन्य पदार्थको उत्खनन्बाट प्राप्त राजस्वको ०.५ प्रतिशत रकम जिससलाई पनि उपलब्ध हुनुपर्ने जिल्ला समन्वय समिति महासंघको माग छ । मंसिर ८ मा सौराहामा सम्पन्न महासंघ प्रदेश–३ को भेलामा महासंघका प्रदेश अध्यक्ष रघुनाथ खुलालले प्रदेश कार्यविधिमा यो प्रवधान रहेको हुँदा रकम यथाशीघ्र जिससहरूलाई उपलब्ध गराउन स्थानीय तहसँग पहल गरिएको बताएका थिए ।

वाग्मती प्रदेश

खुल्दैनन् एड्स संक्रमित

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– मकवानपुरमा एचआईभी संक्रमित हुनेको संख्या बर्सेनि बढ्दै गएको छ । गत वर्ष हेटौंडा अस्पतालस्थित एआरटी सेन्टरमा गएर एआरभी औषधि सेवन गर्नेको संख्या १७० जना थियो । यो वर्ष १९७ जनाले एआरभी सेवन गर्ने गरेका छन् । अन्य जिल्लामा गएर एआरभी सेवन गर्नेको संख्या २७ छ ।
हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक भोला चौलागाईले जिल्लामा एचआईभी संक्रमितको संख्या बढेको बताए । उनका अनुसार मकवानपुरमा नयाँ र पुराना गरी २६८ जना एचआईभी संक्रमित रहेका छन् । हालसम्म जिल्लामा ४ महिलासहित २२ जनाको मृत्यु भइसकेको छ ।
संक्रमितको संख्या बढिरहे पनि उनीहरू अझै समाजमा खुल्न सकेका छैनन् । ‘हेटौंडाका ३८ वर्षीय एक युवक संक्रमित छन् तर उनले परिवारलाई भनेका छैनन्,’ मकवानपुर महिला समूहकी कमला सुवेदीले भनिन्, ‘परिवारलाई भन्यो भने उनीहरूलाई पीडा हुन्छ, घृणा गर्छन् भन्ने सोच उनमा छ ।’ समाज र परिवारले गर्ने घृणा र तिरस्कार एड्सको जीवाणुभन्दा खतरनाक भएको पीडितहरू बताउँछन् । चुरियामाईकी संक्रिमत एक युवती परिवारकै कारण पीडा भोगिरहेकी छन् । घरपरिवारले गर्ने व्यवहारका कारण उनी दिक्क छिन् । ‘एड्सको जीवाणुले भन्दा घृणा र तिरस्कारले गलाएको महसुस भइरहेको छ,’ उनले भनिन् ।
हेटौंडा उपमहानगरपालिका–९ की एक संक्रमित महिलाले भने परिवारको मायाका कारण आफू संक्रमित छु भन्ने सोच नै नआउने बताइन् । भन्छिन्, ‘माइती, घरपरिवार र साथीसंगीहरूले घृणा नगर्ने हो भने मात्र हामीमा आत्मविश्वास पलाउने हो ।’ ३८ वर्षीया उनको रगतमा १६ वर्षदेखि एचआईभी/एड्सको जीवाणु रहेको छ । तर, पनि उनी सक्रिय र फूर्तिली देखिन्छिन् । उनका श्रीमान् हेटौंडाको एक उद्योगमा मजदुरी काम गर्छन् । श्रीमान्को रगतमा एड्सको जीवाणु सरेको एक दशक भइसकेको छ । दम्पतीबीच सुमधुर सम्बन्ध रहेको उले बताइन् । ‘छरछिमेक, आफन्त कसैले पनि घृणा गर्दैनन्,’ उनले भनिन्, आँट भर्ने कुरा मात्र गर्छन्, त्यसले आत्मबल बढाउँदो रहेछ ।’
नेपालमा सन् १९८८ देखि एचआईभी संक्रमितहरू देखापरेका थिए । अहिले नेपालका करिब ३१ हजार एचआईभी संक्रमित भएको अनुमान छ ।

Page 5
उपत्यका

सिनोले थाल्यो सुरुङ र हेडवर्क्सको काम

मेलम्ची खानेपानी आयोजना
अस्थायी बाँध निर्माण गरेर भए पनि एक वर्षभित्र सुन्दरीजलमा पानी ल्याउने ठेकेदार कम्पनीको प्रतिबद्धता
- दीपेन्द्र विष्ट

(काठमाडौं) - इटालीयन कम्पनी सीएमसीले एकतर्फी रूपमा ठेक्का तोडेको घोषणा गरेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको काम करिब एक वर्षपछि पुनः सुरु भएको छ । नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम र हेडवर्क्स निर्माण गरिरहेको हो । आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले १५ महिनाभित्र सम्पन्न हुने गरी काम अघि बढेको जानकारी दिए । ‘ठेकेदार र आयोजनाका कर्मचारी चौबीसै घन्टा निर्माणस्थलमा खटिएका छन्,’ उनले भने, ‘सुरुङ १२ महिनाभित्र र हेडवर्क्सको काम १५ महिनाभित्र सकिन्छ ।’
सीएससीले गत वर्ष पुसमा ठेक्का सम्झौता तोडेपछि सरकारले फास्ट ट्र्याकबाट काम अघि बढाउने निर्णय गरेको थियो । ठेक्का सम्झौताअनुसार सिनो हाइड्रोले ८५ करोड १ लाख लागतमा सुरुङ र १ अर्ब २ करोड ८२ लाखमा हेडवर्क्स निर्माण गर्नेछ ।
२६ किमि सुरुङ खन्ने काम सकिएको छ भने त्यसमध्येको ५ किलोमिटरमा आरसीसी ढलान हुँदै छ ।
गत असोजमा सिनो र आयोजनाबीच सम्झौता भएको थियो । खानेपानी तथा सरसफाइ मन्त्रालयले करिब ९३ प्रतिशत काम सकिएको दाबी गरे पनि ससाना काम धेरै बाँंकी छन् । टनेल अडिट मार्ग तथा इचोक, थकनी र शिवपुरीमा भेन्टिलेटर, सुरुङभित्र प्लास्टर र ओपन कट इन्टेक निर्माण अघि बढिसकेको खत्रीले बताए  । डाइभर्सन टनेल, अस्थायी बाँध (कभर बाँध) निर्माण, स्थायी बाँध र इन्टेक संरचनासमेत निर्माण हुन बाँकी छ । अम्बानथानमा हेडवर्क्स जोड्ने पक्की पुलसमेत बनेको छैन । अस्थायी बाँध निर्माण गरेर भए पनि १२ महिनाभित्र सुन्दरीजलमा पानी ल्याउने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।
खत्रीका अनुसार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र ९ वटा पानीपोखरी निर्माण भइसकेका छन् । ‘समानान्तर हिसाबले घरघरमा पानी पुर्‍याउँछौं,’ उनले भने, ‘त्यही किसिमले प्रत्येक संरचना निर्माण भइरहेका छन् ।’ पाइप परीक्षणलगायत सरसफाइ काम पनि भइरहेको उनले बताए । सुन्दरीजलमा साढे ८ करोड लिटर क्षमताको पानीपोखरी पनि निर्माण भइसकेको भने यहीँ अर्को पानी प्रशोधन केन्द्र निर्माण भइरहेको उनले जनाकारी गराए ।
मेलम्चीबाट आउने खानेपानी वितरणका लागि ७० हजारभन्दा बढी धारा जडान भइसकेका छन् । ‘थोरै धारा निर्माण गरिसक्न बाँकी छ, ती पनि निर्माणको चरणमा छन्,’ आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले भने, ‘सुन्दरीजलमा पानी आइपुग्नेबित्तिकै खास समस्या छैन, पाइप र धाराको परीक्षण भइरहेको छ ।’ केही दिनअघि अनामनगर क्षेत्रको ५ सय ९० भन्दा बढी घरधुरीमा धाराको परीक्षण गरिएको खानेपानी आयोजना निर्देशनालयका प्रमुख भोजविक्रम थापाले जानकारी दिए ।
राष्ट्रिय गौरवअन्तर्गतको मेलम्ची खानेपानी आयोजनामा हालसम्म ३२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । दोस्रो चरणको याङ्ग्री र लार्केको मुआब्जा वितरणको काम भइरहेको छ । याङ्ग्री र लार्केबाट ३४ करोड लिटर पानी मेलम्चीमा थपिनेछ । त्यसपछि मेलम्ची, याङ्ग्री र लार्केबाट ल्याइने ५१ करोड लिटर पानी दैनिक उपत्यकामा वितरण गरिनेछ । एसियाली विकास बैंकको ऋण सहयोगमा ०५८ सालमा उक्त आयोजना सुरु भएको हो । ०६५ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भनिए पनि समय सीमाभित्र काम सम्पन्न नहुँदा आयोजनाको लागत ४२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

उपत्यका

कारागारमा अस्पताल, छैन जनशक्ति

- कान्तिपुर संवाददाता

(ललितपुर) - नख्खु कारागारमा पाँच महिनाअघि २५ शय्याको अस्पताल भवन बने पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । मानसिक रोगबाट पीडित कैदीबन्दीका लागि अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । ‘बाहिरको अस्पताल लैजानुभन्दा भित्रै उपचार सहज होओस् भनेर भवन तयार गरेका हौं,’ मनोसामाजिक अपांग बन्दी अस्पताल नख्खुका शाखा अधिकृत राजन श्रेष्ठले भने, ‘तर, जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन ।’ हाल दैनिक दुई/तीन जनालाई उपचार गराउन मानसिक अस्पताल लगनखेल पुर्‍याउने गरेको उनले बताए ।
कारागारका जेलर सुरेन्द्र पौडेलका अनुसार कारागारमा करिब ५० प्रतिशत मानसिक बिरामी छन् । ‘अस्पताल बनेपछि मानसिकसँगै अन्य रोगको पनि उपचार हुनेछ,’ उनले भने ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेले स्वास्थ्य मन्त्रालयको ढिलाइले दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न नसकेको बताए । ‘स्वास्थ्य मन्त्रालयमा कर्मचारी पठाउन पत्राचार गरिसकेका छौं,’ उनले भने । अस्पतालमा वरिष्ठ कन्सल्ट्यान्ट साइकियाट्रिक, मेडिकल अधिकृत, अनमी, अहेब र हेल्थ असिस्टेन्ट गरी १४ जनाको दरबन्दी छ ।

उपत्यका

यूएन पार्कछेउ चिल्ड्रेन पार्क

- कान्तिपुर संवाददाता

(ललितपुर) - कुपन्डोलनजिक यूएन पार्कछेउको एकतले भवन । ललितपुर खेलकुद प्रशिक्षण केन्द्र । त्यहीँनेर छ, पुरानो स्वरूपको खरको छाना भएको घर । जहाँ ढिक्की, जाँतोजस्ता परम्परागत साधन राखिएका छन् । घरको भित्तामा झ्यालबाट चियाइरहेका दुई बालबालिकाको चित्र छ । वरपर बस्नका लागि काठका मुढा छन् भने सौन्दर्यका लागि फूल । यी संरचना यूएन पार्क समितिले पहिल्यै निर्माण गरेको हो ।
केन्द्रले भने ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा बालबालिकाका लागि प्रशिक्षण केन्द्रदेखि पार्क, खेलमैदान र ज्येष्ठ नागरिकका लागि विश्रामस्थल समेत निर्माण गर्दै छ । यूएन पार्कसँगै जोडिएको ज्वागलस्थित ६ रोपनी ३ आना जग्गामा खेलमैदान र प्रशिक्षण केन्द्रको भवन निर्माण सम्पन्न भइसकेको छ । जहाँ ५० जना अटाउने क्षमता छ ।
एक करोड रुपैयाँको लागतमा चिल्ड्रेन पार्क, खेलमैदान, प्रशिक्षण केन्द्रको भवन, ज्येष्ठ नागरिक विश्रामस्थल र राजतीर्थ घाट व्यवस्थितसँगै मन्दिर पनि निर्माण गर्ने राजतीर्थ उपभोक्ता समितिका अध्यक्ष सिद्धि व्यञ्जनकारले बताए । खेलकुद मैदानमा बिहान–बेलुका बालबालिकालाई तालिम दिन थालिएको छ । ‘अब चिल्ड्रेन पार्कमा बच्चाहरूका लागि पिङ, चिप्लेटी राख्न बाँकी छ,’ उनले भने, ‘लगभग ७० प्रतिशत काम सम्पन्न भइसक्यो । फिटनेस सेन्टरसमेत राख्ने योजना छ ।’ ०७२ सालको भूकम्पबाट विचलित बालबालिकालाई खेलको माध्यमबाट जागरुक बनाउन केन्द्रको स्थापना भएको हो ।
व्यञ्जनकार एन्फाका पूर्वप्रशिक्षक पनि हुन् । अहिले बिहान/बेलुका ६० जना बालबालिकालाई उनी अभ्यास गराइरहेका छन् । पार्क सम्पन्न भएपछि स्थानीयदेखि बटुवासम्मलाई बस्न र शान्त ठाउँमा समय व्यतित गर्न सकिने महानगरपालिका वडा नम्बर १० का अध्यक्ष नरसिङ व्यञ्जनकारले बताए । ‘अहिलेका बच्चाहरूले छिमेकीका बच्चासमेत चिन्दैनन्,’ उनले भने, ‘पार्क बनेपछि बच्चादेखि वृद्धलाई समेत सजिलो हुन्छ ।’

उपत्यका

भक्तपुरमा सबै तयारी पूरा

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– कोही बाँस गाड्ने, कोही डोरी बाँध्ने त कोही मतदाता परिचयपत्र वितरण गर्ने । उपनिर्वाचनका लागि मतदान केन्द्र खटिएका कर्मचारी शुक्रबार निकै व्यस्त रहे । भक्तपुरमा पनि प्रदेशसभा १ (क) का लागि शनिबार उपनिर्वाचन हुँदै छ ।
‘मतदान कार्यका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भयो,’ भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित सरस्वती इङ्लिस स्कुल मतदान केन्द्र
‘क’ का मतदान अधिकृत घनेन्द्र अधिकारीले भने ।
यहाँ ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ गरी पाँच मतदान केन्द्रमा पाँच अधिकृतसहित २५ कर्मचारी, २० स्वयंसेवक, राजनीतिक दलका एक/एक प्रतिनिधि र सुरक्षाकर्मी खटिएको उनले बताए ।
उपनिर्वाचनमा लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । ‘सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना परिचालन भइसकेका छन्,’ उनले भने । केन्द्रभित्र नेपाल प्रहरीले सुरक्षा दिनेछ भने मतदान स्थलको बाहिरी घेरामा सशस्त्र प्रहरी रहनेछन् । नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्नेछन् ।
जिल्लाको सुरक्षा समिति, मुख्य निर्वाचन अधिकृतको कार्यालयका साथै सुरक्षा निकायका प्रमुखहरू समेतको सहभागितामा विभिन्न मतदानस्थलको स्थलगत अनुगमन र निरीक्षणसमेत गरिएको उनले जानकारी दिए ।
सवारीसाधन निषेध
उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि शनिबार राति ९ बजेसम्म उपनिर्वाचन हुने क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
कार्यालयले सूचना जारी गर्दै अरनिको राजमार्गको साँगादेखि राधेराधेसम्मको सडकखण्डबाट उत्तरतर्फ, राधेराधे चोकबाट निकोसेरा चोकसम्मका सडकखण्डबाट पूर्वतर्फ, पेप्सीकोला मनोहरादेखि निकोसेरा सडकखण्डबाट उत्तरतर्फ सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । त्यस्तै, काठमाडौंबाट भक्तपुर आउने पेप्सीकोला–मनोहरा र जडिबुटी–मनोहरा नाकाबाहेकका सम्पूर्ण नाकामा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।
काभ्रेबाट भक्तपुर आउने साँगा नाकाबाहेक सम्पूर्ण नाकाबाट सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । एम्बुलेन्स, शवबाहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृतबाट र जिल्ला प्रशासन कार्यालयबाट पास प्राप्त सवारीसाधनलाई भने निर्वाध रूपमा सञ्चालन गर्न दिइनेव्यवस्था गरिएको प्रजिअ भट्टले बताए ।
भक्तपुरमा हुन लागेको उपनिर्वाचनमा ९ राजनीतिक दलका ९ र १० स्वतन्त्र गरी १९ जना उम्मदेवार चुनावी मैदानमा छन् । प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधनपछि रिक्त रहेको स्थानका लागि हुन लागेको उपनिर्वाचन ४५ हजार १५ मतदाता छन् । चाँगुनारायण नगरपालिकाको ९ वटै वडा र भक्तपुर नगरपालिका १० रहेको यस क्षेत्रमा २२ मतदानस्थल र ५४ मतदान केन्द्र तोकिएका छन् ।

उपत्यका

ललितपुरको प्युटारमा अस्पताल बन्दै

- प्रशान्त माली
ललितपुरको दक्षिणी दुर्गम गाउँ प्युटारमा निर्माणाधीन पाँच शय्याको अस्पताल भवन । प्युटार लगनखेलबाट ४५ किलोमिटर दक्षिणमा पर्छ । तस्बिर ः प्रशान्त/कान्तिपुर

(ललितपुर) - दमको बिरामले थलिएपछि मकवानपुर बेतिनीकी ५५ वर्षीया माइली थिङ दुई दिन लगाएर ललितपुरको लेले टीकाभैरवस्थित आनन्दवन अस्पताल आइपुगिन् । अस्पतालसम्म आइपुग्न उनले एक रात गिम्दीमा बास बस्नुपरेको थियो । ललितपुरकै प्युटार सिम्लेका ५५ वर्षीय रामबहादुर तामाङ तीन घन्टा हिँडेपछि बल्ल सवारीसाधन चढ्न पाए । त्यसपछि मात्रै उपचार गर्न अस्पताल आए । गिम्दीका ५५ वर्षीय रामप्रसाद तामाङ पनि घन्टौं हिँडेर उपचार गराउन आएका हुन् । उनीहरू जस्तै ललितपुरको दक्षिणी दुर्गम भेगका बासिन्दाले उपचारका लागि अस्पताल पुग्न ठूलो कष्ट झेलिइरहनुपरेको छ ।
अहिले वाग्मती गाउँपालिकाले प्युटारमा ५ शय्याको अस्पताल बनाउन थालेपछि भने उनीहरूजस्ता दक्षिणी भेगका बासिन्दा गाउँमै उपचार पाउनेमा आशावादी बनेका छन् । अस्पताल भवन बनाउन सांसद चेतनाथ सञ्जेलको पहलमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट गत वर्ष एक करोड ६० लाख र चालू आर्थिक वर्षमा २ करोड गरी ३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
अस्पताल भवन निर्माणका लागि पिल्लर उठाउन डन्डी बिछ्याउने काम भइरहेको छ । केही दिनमै पहिलो तलाको ढलान गरिने वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । ‘दक्षिणका दैनिक दुई/तीनजना बिरामी उपचारका लागि सहर पुग्ने गरेका छन्, अब यो झन्झटबाट गाउँलेले चाँडै मुक्ति पाउनेछन्,’ उनले भने, ‘स्थानीय तहमा एक हजार पाँच सय शय्यासम्मको अस्पताल बनाउने नीति छ,’ उनले भने, ‘अति विकट माझखण्ड गाउँमा सामुदायिक स्वास्थ्य केन्द्रमार्फत् सेवा दिइरहेका छौं ।’ अस्पतालको सुविधा पाँच शय्याबाट क्रमशः बढाउँदै लैजाने योजना रहेको उनले बताए ।
बिरामीको चापले गर्दा स्वास्थ्य चौकीहरूलाई सेवा दिन भ्याईनभ्याई छ । अस्पताल सञ्चालनमा नआएसम्म भट्टेडाँडामा डाक्टर झिकाएर गरेर उपचार गराउँदै आएको लोप्चनले बताए । ‘अस्पताल सञ्चालनमा आएपछि सहरमा बसाइँसराइ गरेर उपचार गराइरहेका समेत फर्केर आउने विश्वास छ,’ उनले भने, ‘चारवटा बर्थिङ सेन्टरसमेत यहाँ सञ्चालन हुनेछ ।’
गाउँपालिकाका अनुसार अस्पताल भवन ज्ञानज्योति कन्ट्रक्सनले ०७७ जेठभित्रमा निर्माण सम्पन्न गर्ने गरी भ्याटसहित २ करोड १ लाख रुपैयाँमा ०७६ भदौ ९ मा ठेक्का पाएको थियो । अस्पतालमा इमर्जेन्सी सेवासहित २४ घन्टै सञ्चालनमा आउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आर्चायले बताए । अस्पतालमा वरिष्ठ डाक्टरसहित एकएक जना नासु, लेखापाल, सहायक कम्प्युटर अधिकृत र दुई/दुईजना मेडिकल अधिकृत, अनमी, अहेब र हेल्थ असिस्टेन्ट गरी १२ जना कर्मचारीको दरबन्दी राख्ने योजनामा रहेको आर्चायले बताए ।
अस्पताल समयमै बनेका ललितपुरको आश्राङ, गिम्दी, प्युटार, ठूलादुर्लुङ क्षेत्रबाहेक मकवानपुरको थिङगिन, मन्थलीवासीले पनि सेवा पाउनेछन् । प्युटार लगनखेलबाट ४५ किमि दक्षिणमा पर्छ ।
मानिखेल सञ्चालनमा आएन
ललितपुरको दक्षिणी भेग मानिखेलमा अस्पताल भवन निर्माण सम्पन्न भएको ६ वर्ष बिते पनि सञ्चालनमा आउन सकेको छैन । ४ करोड ६ लाख रुपैयाँ लगानीमा बनेको अस्पताल स्वास्थ्य मन्त्रालयले चिकित्सक लगायत कर्मचारीको दरबन्दी नदिँदा सञ्चालन हुन नसकेको हो । अस्पतालमा रगत, खकार, ईसीजी, दिसा–पिसाब जाँच्ने प्रयोगशालासहित एक्स–रेलगायतका उपकरण जडान भइसकेका छन् । उपकरण सञ्चालनमा आउन नसक्दा खिया लाग्ने र बिग्रने अवस्थामा पुगेको अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष बुद्धबहादुर नेगीले बताए । ‘स्वास्थ्य मन्त्रालयमा पटकपटक बजेट र दरबन्दीका लागि पत्र पठायौं, तर बेवास्ता गरियो,’ अध्यक्ष नेगीले भने, ‘अस्पताल सञ्चालनमा ल्याउन सके आकस्मिक र दुर्घटनामा परेका बिरामीले अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो ।’

उपत्यका

चोरिएको मूर्ति फर्काउन पहल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पाटनको नारायण मन्दिरबाट ३५ वर्षअघि चोरिएको मूर्ति फर्काउन पुरातत्त्व विभागले पहल थालेको छ । १५औं शताब्दीको ‘वासुदेव–कमलाजा मूर्ति’ अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा भेटिएपछि विभागले सक्रियता देखाएको हो । अमेरिकाको वासिङ्टन डीसीस्थित नेपाली दूतावासलाई वैधानिक प्रक्रिया अघि बढाउन विभागले आग्रह गरेको छ । कूटनीतिक नियोगले इन्टरपोलमार्फत् मूर्ति फर्काउन पहल थाल्ने भएको छ । सन् १९८९ मा प्रकाशित लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ (पृष्ठ २४८) मा समेत उल्लेख भएको यो मूर्ति सन् १९८४ मा चोरिएको जनाइएको छ । सन् १९७० मा अनुमोदित ‘गैरकानुनी रूपले सांस्कृतिक सम्पत्ति आयातनिर्यातमा प्रतिबन्ध लगाउनेबारेको अभिसन्धि’ का आधारमा पनि पहिचानयुक्त मूर्तिलाई फर्काउन सकिनेछ ।

उपत्यका

धनमाल चोरी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौंका विभिन्न स्थानमा धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने टीकादेवी पौडलेको घरबाट दुई लाख रुपैयाँसहित करिब सात लाख ६० हजार बराबरको गरगहना चोरी भएको प्रहरीले जनााएको छ । यस्तै, चन्द्रागिरी नगरपालिका–४ हिमचुली बस्ने द्रौपती शाहको घरबाट ल्यापटप एक थानसहित १० लाख १० हजार रुपैयाँ बराबरको गरगहना चोरी भएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–४ गणेश बस्ती बस्ने अशोककुमार राईको घरबाट पनि दुई लाख ५६ हजार बराबरको नगद तथा गरगहना चोरी भएको छ ।

उपत्यका

करणी आरोपमा पक्राउ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– जबरजस्ती करणी गरेको अभियोगमा नागार्जनु नगरपालिका–३ का ३१ वर्षीय सोमराज नगरकोटी पक्राउ परेका छन् । ३६ वर्षीया महिलालाई पटकपटक करणी गरेको खबरका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उपत्यका

चन्द्रागिरिमा सुविधासम्पन्न भवन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– चन्द्रागिरि नगरपालिका–१२ ले सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गर्ने भएको छ । सात रोपनी जग्गामा बगैंचासहितको भवन बनाउन लागिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए । ‘सांस्कृतिक, कलात्मक तथा पुरातात्त्विक तरिकाले भवन बनाइन्छ,’ उनले भने, ‘अन्डरग्राउड पार्किङसहित अपागं/महिलाअनुकूल लिफ्टसमेत जडान गरिनेछ ।’ जिल्ला समन्वय समितिको आठ करोड ७६ लाख ३२ हजार एक सय पाँच र नगरपालिकाको पाँच करोड ८४ लाख २१ हजार लागतमा भवन निर्माण हुने भएको हो । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले १८ महिनाभित्र सक्ने गरी १४ करोड ६० लाख रुपैयाँमा ठेक्का पाएको छ ।

उपत्यका

हिरोताकाको लक्ष्य ॅभर्जिन पिक’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– १४ वटा ८ हजार अग्ला हिमाल आरोहण गर्ने पहिलो जापानी आरोही हिरोताका ताकेउचीले नेपालका भर्जिन हिम चुचुरा आरोहण गर्ने घोषणा गरेका छन् । २४ वर्षअघि मकालु हिमालबाट आरोहण यात्रा थालेका ४८ वर्षीय यी आरोहीले शुक्रबार पानीपोखरीस्थित जापानी दूतावासमा आयोजित कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । ‘अबको मेरो यात्रा अरू कसैले पनि आरोहण नगरेका नेपालसहितका अन्य मुलुकका हिमाल आरोहण गर्ने रहेको छ,’ ताकेउचीले भने । विश्वभर रहेका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालमा छन् ।

Page 6
विविधा

कोही किन सधैं विधवा होस् ?

 

समयको चक्र अचम्मको छ । कहिलेकाहीं हाँसो र आँसु एकैपटक ल्याउँछ । पाँच वर्ष अघिको कुरो हो । भर्खर दसैं सकिएर अलिअलि जाडो सुरु भएको असोजको एक बिहानी आफ्नो भर्खर जन्मेको छोरोलाई घाममा राखेर तेल लगाउँदै थिइन्, फोनको घन्टी बज्यो । उनले ‘हेलो’ भन्न नपाउँदै उताबाट आवाज आयो, ‘तपाईको मान्छे दुर्घटनामा परेका छन्, जतिसक्यो छिटो आउनुहोस् ।’ दाइ र आमाबाबासहित
उनको लोग्ने मनकामना दर्शन गर्न बिहानै पाँच बजेतिर काठमाडौंबाट हिंँडेका थिए । कसलाई पो थाहा थियो होला र ? भगवानको दर्शन गर्न हिंँडेका ती चारैजना दुर्घटनामा परी भगवानका प्यारा होलान् भनेर ।
एक निमेषमा उनले आफ्नो सम्पूर्ण परिवार गुमाइन् । लोग्नेसहित बाबुआमा र एक्लो दाइ । भर्खरै अघिसम्मको उनको हराभरा संसार उजाड मरुभूमि बनेको थियो, छोरोलाई जिस्काउँदै गरेको हाँसो बन्लिद्रधारा जस्तै आँसु बनेर आँखाबाट खस्न थाल्यो । त्यो हृदयविदारक बज्रपात अरु कसैमाथि नभई मेरी आफ्नै भाइ–बुहारीमाथि परेको थियो । मैले भाइ गुमाएकी थिएँ, तर उनले सर्वस्व गुमाएकी थिइन् । अहिले पनि जब ममाथि कुनै सानो दुःख आइपर्छ, त्यतिबेला मैले तिनै भाइ–बुहारीलाई सम्झन्छु र आफूलाई सम्झाउँछु ।
जसरी समयले कुनै दया नराखी बज्रपात दिँदोरहेछ, त्यसरी नै मानिसलाई सहन पनि सिकाउँदो रहेछ । त्यही बेला सहनशीलताको परिभाषा मैले बुहारीबाट पाएँ । त्यो घटनापछि उनी माइतीतिरको एक्लो भइन् न त अरु दिदीबहिनीहरू थिए, भएका बाबुआमा र दाजुले पनि लोग्नेसँगै त्यही दुर्घटनामा ज्यान गुमाएका थिए ।
पशुपतिबाट उनलाई लोग्ने नभएको घरमा उसको नासो २८ दिनको छोरो सँगै लिएर आयौं । हामीले उनलाई सेतो पहिरनमा कुनामा बसी काजकिरिया गर्न दिएनौं, किनकि हामी पीडामाथि पीडा थप्न चाहँदैनथ्यौं । उनी अघिपछिकै जस्तो सामान्य पहिरनमा बसिन् । तेह्रौं दिनको काम सकिएपछि पनि हामीले पुनः उनका कलिला हातमा चुरा र निधारमा रातो टीका लगाइदियौं, ताकि समाजले उनलाई विधवाको दृष्टिले नहेरोस् । मेरा बुबाआमाले पनि अलिकति पनि नहिच्किचाई त्यो कार्यलाई समाज परिवर्तनको एउटा फड्को भनेर आफै अग्रसर भएर स्वीकृति दिनुभयो ।
माइतीपट्टिका ठूलोबुबा, काकाहरूले ‘हामी छौं, हामी छोरीलाई घर लान्छौं’ नभन्नुभएको होइन । तर उनले ‘मेरो घर नै यही हो, मेरा सासु–ससुरा नै मेरा कर्म दिने बुबा, आमा हुन् । जन्म दिनेलाई त गुमाइसकेंँ । अब यो घरमा बुहारी होइन, छोरी भएर बस्न चाहन्छु’ भनेर आफ्नै घरमा बस्ने इच्छा राखिन् । छोरो गुमाए पनि बुहारी र नातिसँगै बस्न पाउँदा बुबाआमाको लागि त्योभन्दा खुसीको कुरो के हुन्थ्यो र ?
हाम्रो संस्कार, संस्कृति या समाज अनौठो छ । जब एक श्रीमानकी श्रीमतीको मृत्यु हुन्छ, उसलाई अर्को बिहे गर्ने बाटो खुल्ने मात्र होइन, बिहे गर्न समाजले नै दबाब दिन्छ । तर जब श्रीमानको मृत्यु हुन्छ, श्रीमतीको चाहिँ सौभाग्य खोसिनु मात्र होइन कि उनका इच्छा र आकांक्षाहरू पनि खोसिएका हुन्छन् । जबकि रातो वस्त्र, टीका र चुरा त लगनगाँठो कसिनुभन्दा पहिले नै लगाइएको हुन्छ । श्रीमानले दिएको सिन्दूर र पोते मात्र हो, तर हाम्रो समाजमा श्रीमानको मृत्युपछि विधवाहरूलाई रातो रंगबाट नै टाढा राखिन्छ । अबका नारी घरमा बस्ने मात्र हुँदैनन्, उनीहरूलाई काममा जानुपर्ने पनि हुन्छ । त्यही विधवाकै पहिरनमा बाहिर निस्कँदा विधवा भन्ने प्रस्टसँग छुट्टिन्छ । खराब नियत भएकाहरूले तिनको कमजोरीपनको फाइदा लिन नखोज्लान् भन्न सकिंँदैन ।
समय बित्दै गयो । छोरो पनि हुर्कंदै गयो । हामीले उनलाई बाहिरी शृंगार त गर्न लगाउँथ्यौं, तर भित्री शृंगार खल्लो देखिन्थ्यो । मन खुसी भए न सबैथोक खुसी हुने हो । उनी कलिली अनि राम्री थिइन् । चारैतिरबाट सल्लाहको ओइरो लाग्न थाल्यो– ‘जीवन लामो छ । एक्लो यात्रा सजह हुँदैन । पहिले जस्तो सोचाइ राख्नु हुँदैन । नयाँ जीवन दिएर त्यो घाउलाई विस्तारै निको पार्नुपर्छ । पहिलेको कुरा सम्झेर नरोऊ कि आउने दिनहरूमा हाँस्दै अघि बढ ।’ त्यस्तै–त्यस्तै ।
उनले आफ्नो मनको कुरो कुनै संकोच नमानी बुबाआमासँग खोलिन्– उनलाई एकजना केटाले मनपराउन थालेका रहेछन् र उनले पनि । बुबाआमाले आफ्नो स्वार्थमात्र हेर्नु भएन । बुहारीको खुसी नै आफ्नो खुसी ठान्नुभयो । केटा योग्य देखेर हामीले त्यो समाजको विभेदकारी नियमलाई नमान्ने निधो गर्दै आफन्तसँग सल्लाह लिई जोडी बाँधिदिने निर्णयमा पुग्यौं ।
बुबाआमाको लागि त्यो सजिलो थिएन । बुहारीसँगै संरक्षण गर्दै आएको नाति पनि पठाउनु थियो । तर मनलाई बाँधेर उहाँहरूले टीकाको साइत गरेर घरबाट पठाउनुभयो । तोते बोलीमा ‘नरुनु भोलि आइहाल्छु नि’ भन्दै नाति पनि विदा भयो । केटाको घरको तर्फबाट उनलाई बिहे गर्ने स्वीकृति थिएन, किनकि उनले एक विधवालाई बिहे गर्दै थिए । यो उनको परिवारको मात्र दोष होइन कि समाजकै दोष हो । तर परिवारको अस्वीकारबीच पनि उनले विद्रोह गरेर भए पनि बिहे गरेरै छोडे । नयाँ वैवाहिक जीवनमा बाँधिएर अहिले दुवै खुसी छन् र छोरा पनि बाबा पाएकोमा खुसी छ ।
सबै कुरा सोचाइ नै रहेछ, सोचाइ परिवर्तन गरे सबै कुरा सामान्य लाग्दोरहेछ । बुबाआमाले पनि आफ्नो सोचाइमा सानो परिवर्तन गरेर उनको गुमेको खुसीमात्र फर्काउनु भएन, आफू पनि खुसी भएर बाँच्न सिक्नुभयो । न त बुहारीसँग सम्बन्ध बिग्रियो, न त समाजले कुरा काट्न सक्यो, न नाति टाढियो । अहिले हाम्रो घर उनको लागि साँच्चिकै माइती भएको छ, नियास्रो लाग्यो भने माइती सम्झेर आउँछिन् ।

शीतल शर्मा

विविधा

केही चिनेका बूढाहरूका भाखा

समय रेखा
- अभि सुवेदी

 

मैले नेपालमा खासगरी नेपाल उपत्यकामा निकै बूढाहरूको संगत गरेंँ । ‘बूढा मरे भाखा सरे’ भन्ने पुरानो नेपाली उखानबाट इतिहासभित्र पस्न सकिने हुनाले त्यही प्रयोग गरेको हुँ । म किन बूढाहरूको नजिक पुग्थेँं, त्यसका आफ्नै कारणहरू रहेछन् । इतिहासभित्र लुकेका केही समानान्तर मानवीय चेतनाले खिचिएको हुँ । नेपालमा छ्यालीस र त्रिसठ्ठी सालका राजनीतिक परिवर्तन भएदेखि मलाई यो प्रश्नले खेद्न थालेको हो । ती सबै इतिहाससँग सम्बन्ध राख्छन् । यी बूढाहरू धेरैजसो दिवंगत भइसके । केही जीवित छन्, जोसँग यत्नले कुराकानी गरेर पत्रिकाहरूमा छपाउन सफल भएको छु । यी बूढाहरूका आनीबानी, यिनका राजनीतिक चिन्ता र इतिहास, यिनका धार्मिक र रागात्मक वा रोमान्टिक पक्ष, यिनका किञ्चित अराजक चरित्र र विचार, केही हास्यरसलाई बल दिने स्वभाव र कुराकानी मेरा सम्झनाभरि छन् । आफूले युवा अवस्थादेखि भेटेका बूढाहरू निकैजना भए पनि यस लेखमा चारजनाको मात्र सम्झना लेखेको छु ।
कमलपोखरीको पीपलको बोटमा केशरबहादुर केसी ‘मर्निङ वाक’मा निस्कने बेला पारेर म बिहानै पुग्थेंँ । म त्यो बेला विद्यार्थी थिएँ । मलाई केशरबहादुर केसीका कुरामा चाख लागेको कुरा इतिहास थियो । ती धाराप्रवाह अनौठा न्यारेटिभ सुनाउँथे । ती राणाकालीन भारदार थिए । मैले ती विद्वान रहेछन् भनेर रत्नपुस्तक भण्डारमा भेटेपछि थाहा पाएको थिएँ । रत्नले तिनका कानुन सम्बन्धी ठूला अंग्रेजीका ठेली पनि छापेको थियो । साझाले तिनको ‘नेपाल आफ्टर द रिभोलुसन् अफ् १९५०’ किताब प्रकाशित गर्‍यो । म तिनलाई त्यो बेलाका कुरा सोध्थेंँ । ती लामो किञ्चित् रंगीन घरमा लाउने गाउन लाएर दाँत माझ्दै आउँथे । दाँत माझ्दै ती निकै हिंँड्थे । एक पटक त कालिकास्थानसम्म पुगेर फर्केको सम्झना छ । पेस्ट सकिएको भए पनि उनको मुखमा ब्रस हुन्थ्यो । बीच–बीचमा चलाउँथे । ती राजा त्रिभुवन र बीपी कोइरालाका स्वभाव विषयमा धेरै कुरा गर्थे ।
यस्ता अर्का सामन्ती घरानाकै तर अलग चरित्र भएका बूढा थिए, हृषिकेश शाह (१९८२–२०५९) । मैले तीसँग निकै समय हिमचिम गरेंँ । ती दिवंगत हुँदा मैले लेखेको ‘कान्तिपुर’मा प्रकाशित लेखमा तिनको स्वभाव र राजनीति विषयमा बयान गरेको छु । ती एक अनौठो अन्तरविरोध भएका विषयलाई आफ्नो विश्वास बनाएर हिँड्ने मानिस र विद्वान थिए । गोलभेंँडा फलाउने ‘ग्रिन हाउस’ जस्तो चन्डोल घरको हपहप कोठामा ती किताबले घेरिएर बसेका हुन्थे । तिनले राजादेखि कांग्रेस र कमिनिष्टका नेताहरूसँगको संगत गरे । तिनका अनेकौं चरित्रहरूसँग परिचित छु । मनमोहन अधिकारीलाई श्रद्धाञ्जली अर्पण गर्न ती र म खुलामञ्च गयौं । मनमोहनमाथि फूल राखेपछि ती हातको लठ्ठी उचालेर आकाशतिर हेर्दै बूढो बाघजस्तै कराएर रोए । मैले अलिक पर पुगेपछि सोधेँं, ‘शाहजी, यी मानिससँग चुनाव उठ्दा असीवटा भोट ल्याएर हार्नुभयो । अहिले किन रुनुभयो ?’ तिनले दिएको उत्तरमा इतिहास आकाशबाट खस्यो । तिनले भने, ‘अब नेपाली राजनीतिको अन्तिम इमानदार मानिस गयो ।’ म मौन भएँ ।
अर्का यस्तै मानिस थिए, जगदीशशमशेर राणा (१८८६–२०७४) । ती राणापरिवारका सम्भ्रान्त भए पनि सिमलामा स्याउ खेती गरेर बस्थे । यीसँग मेरो निकै संगत भयो । यी राजनीतिका कुरा एक अराजक मानिसले जस्तो गर्थे । ती भरतशमशेरका भाइ, नेपाली कांग्रेसका मानिस भए पनि स्वतन्त्र विचारका विद्वान, कवि, उपन्यासकार र समीक्षक थिए । ती एक सरल मानिस थिए । तिनको पछिल्लो किताब ‘उत्तरआधुनिकवाद बाहुल्य विस्फोट’ (२०७०) को विमोचन तिनको भनाइ अनुसार एकजना मात्र मानिसले बोल्नेगरी मिलाएको हुनाले मैले बोलेको थिएँ । त्यस किताबमा तिनले माओवादीको खुलेरै प्रशंसा गरेका छन् । ती इतिहासका विरोधाभास बोल्ने एक ‘न्यारेटर’ थिए । त्यसैले म तिनका कुरा ध्यान दिएर सुन्थेंँ । पछिल्लो समय तिनले मलाई लाम्चिला राम्रा अक्षरमा एउटा चिठी पठाए । त्यसमा तिनले लेखेका यी शब्दले मलाई बूढाहरूको विषयमा लेख्न बस्ता अनौठो सन्जोग मिलेको भावना भएको छ । तिनले लेखेका छन्, ‘प्रिय अभिजी, २००४ सालमा प्रथम नेपाली कविता सम्मेलन हुँदाको केही हामीलाई दैवले साँचेको रहेछ । त्यसबेलाको कुरालाई समयको धुलोले ढाकिराखेको । .... पुराना बूढापाका र नयाँ संयोजकहरू भेटेर ... मौका फेरि जुट्ला, नजुट्ला भनी’ एउटा मिलनको आयोजना गरेको कुरा उनले लेखे । सरस्वती सदनको ऐतिहासिक साहित्य गोष्ठीको कुरा गरेका हुन्, राणाले । मैले उनको ‘ओबिचुअरी’ अन्नपूर्ण पोस्ट (१२ मंसिर २०७६) मा लेखेँं ।
अर्का बूढा पुस्ताका कवि र राजनीतिमा काम गरेका प्रख्यात व्यक्ति केदारमान व्यथितसँग मेरो सम्बन्ध निकै काल रह्यो । उनी दिवंगत भएपछि उनको स्मृतिमा लेखेको लेखमा मैले उनको चित्रण यसरी गरेंँ, ‘झन्डै ६ फिट अग्ला, शास्त्रीय कालका चिनियाँ दार्शनिकका जस्ता लाम्चिला आँखामाथि घना आँखीभौं भएका, अनि एक महत्त्वाकांक्षीका जस्ता सपनाले भरिएका आँखा अनि गम्भीर अनुहारमा एक्कासी हाँसो ल्याउने रेखाहरू फैलिने ती कविको अभिव्यक्तिमा एउटा कहिल्यै नथाक्ने र काम गर्न बाँकी छ भन्ने चिन्ताको गतिशीलता प्रस्ट देखिन्थ्यो’ (कवि व्यथित स्मृतिग्रन्थ, सिन्धु, २०६०) । व्यथितको राजनीति स्थिर थिएन, तर तिनका स्मृतिहरू सात साल पहिलेका प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका थिए । ती राजा महेन्द्र र वीरेन्द्रका पनि नजिकका पात्र थिए । तर ती आफ्नो विगतलाई जीवन्त पारेर सुनाइरहन्थे ।
एक पटक उनले घरमा कवि गोष्ठी र भोजनको आयोजना गरे । पचासको दशकको बखत थियो । व्यथितका पुराना मित्र नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह पनि त्यहाँ आमन्त्रित थिए । भारतमा रहेर प्रजातन्त्रको निम्ति संघर्ष गरेका बेलाको गणेशमान जोडिएको एउटा भावपूर्ण सम्झना व्यथितले बोलेपछि गणेशमानलाई अत्यन्त भावुक बनायो, अनि ती अब साथीहरूले प्रजातन्त्र लगेर राजालाई दिन्छन् भनेर हामी सबैको सामु खुलेर रोए । सबै भावुक भयौं । त्यसको केही समयपछि त्यस्तै भयो । सन्दर्भहरू त्यस्तै जोडिए । राजा ज्ञानेन्द्रले २०६१ मा शक्ति लिए ।
व्यथित यी प्रजातन्त्रका लागि लडेका नेताहरूसँग काम गरेका मानिस थिए ।
अन्त्यमा, अर्का एकजनाको सम्झना गर्छु । ती हुन्– हास्यव्यङ्ग्य लेखक, उपन्यासकार र पत्रकार केशवराज पिंँडाली (१९७१–२०५५) । पिँंडालीसँग निकै अन्तरङ्ग सम्बन्ध गरेंँ । मैले उनलाई सम्मान गर्ने कारण उनी एक लेखक भएकाले र इमानदार र खुला प्रजातान्त्रिक चेतना भएका मानिस भएकाले गर्दा हो । तिनलाई पत्रकार भएको बेला पटक–पटक पञ्चायत व्यवस्थाले दुःख दियो । तर तिनका संस्मरण अत्यन्त महत्त्वपूर्ण छन् । पिँंडालीसँग सन् १९९१ को फेब्रुअरीमा डेनिस पेनको निम्तोमा डेनमार्क गएको बेला धेरै अन्तरंग सम्वाद गरेंँ । पिँडाली प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका निजी सचिव थिए । भारत र नेपालभित्रका राजनीतिक संघर्षका कथा अनि नेताहरूका विचार र चरित्रका ती लेखकले जस्तो अरुले चित्रण गरेको मलाई सम्झना छैन ।
मैले मेरो लामो लेख वा अध्यायबाट यहाँ यत्ति सम्झना राख्नसकेंँ । यिनीहरू बाहेक यदुनाथ खनाल, बालकृष्ण सम र अरु आफूले नजिकबाट जानेका बूढाहरूका भाखा मैले
आफ्ना सम्झना र टिपोटमा राखेको छु । यी मानिसहरूको सम्झनाको प्रसङ्ग अहिले ल्याउनुको कारण इतिहास चेतनाका यी प्रश्नहरू हुन्– यी बूढाहरूका भाखाको पछिल्लो समयमा के प्रयोजन भयो ? आफू नजिक नभएका गणेशमानका भावना र सिद्धान्तको पछिल्लो वा आजको इतिहासमा के प्रयोजन भएको छ ? केशरबहादुर केसीदेखि पिँडालीसम्म आफूले राम्ररी जानेका बूढाहरू इतिहास परिवर्तनका कारक थिए त ? तिनका सम्झनाले इतिहास परिवर्तनबारे के भन्छन् ? तिनका भाखाको कुरा गर्दा तिनीहरू लेखक, साहित्यकार भएका हुनाले तिनले आफ्नै किसिमले इतिहास रचे । तिनीहरूले राजाका शासनकालमा आफ्ना कर्म गरे । फरक छ, आज लोकतान्त्रिक गणतन्त्रको युगमा लेख्ने र बोल्ने स्वतन्त्रता छ । यी बूढाहरूले राज्य र सरकारका नीतिबारे असन्तुष्टि पोख्न कतिले साहित्यको सहारा लिए, कतिले इतिहासभित्र पसेर अर्कै गाथा रचे । अहिलेका विद्वान बुद्धिजीवीहरू स्वतन्त्र छन्, त्यसैले तिनीहरूका संकट निजी वा अस्तित्ववादी छन् । ती स्वतन्त्र भएकै कारणले आफ्ना संकट, आफ्ना अभिव्यक्ति वा भाखाबाट निराकरण गर्नुपर्ने एउटै अवस्थाले निर्देशित छन् । अहिले नेपालमा संकटका चरित्र कुनै गौण छन् भने कुनै प्रस्ट छन् । राज्यको आन्तरिकदेखि सीमा समस्यासम्मका विषय उठेको बेला, मैले देखे अनुसार, खासै कामयावी भाखाहरूमा बहस भएका छैनन् । बूढाहरू बितिसके पनि तिनले भनेका सम्झनाका सार छन्– नेपालीहरूले युग परिवर्तन गर्न गरेका संघर्षका साझा कथा छन् । धेरैले भारतमा बसेर आफ्ना काम गरेका थिए । त्यसमा क्रान्तिकारी माओवादी पनि पर्छन् । अन्त्यमा, ‘बूढा मरे भाखा सरे’ भन्ने कुरा यथार्थ नभए पनि भाखा बोल्ने परिस्थिति, उपलब्धि र संकट उस्तै
देखिएका छन् । त्यो ऐतिहासिक चेतनाको कुरा बुझ्नु उपलब्धिपूर्ण हुनसक्छ ।

विविधा

दैलेखमा पेट्रोलियम

 

नेपालमा पेट्रोलियम अन्वेषणको काम सन् १९८० को दशकदेखि सुरु भएको हो । १९८२ मा विश्व बैंकको सहयोगमा क्षेत्रीयस्तरमा तराई र चुरेक्षेत्रलाई समेटेर भौगर्भिक, भू–रासायनिक तथा भू–भौतिक सर्भे सञ्चालन भएका थिए । यस प्रकारका अध्ययन तथा अनुसन्धानबाट प्राप्त नतिजाहरूको विश्लेषण गरी पेट्रोलियमको भण्डार हुनसक्ने सम्भावित क्षेत्रको रूपमा पूर्वदेखि पश्चिमसम्म १०वटा अन्वेषण खण्डहरूमा विभाजित गरिएको थियो । पेट्रोलियम कार्यलाई सहज बनाउन छुट्टै नेपाल पेट्रोलियम ऐन, २०४० र पेट्रोलियम सम्झौताको ढाँचासहितको पेट्रोलियम नियमावली–२०४१ जारी गरिएको छ । पछिल्लो पटक २०७४ सालमा पेट्रोलियम नियमावलीलाई समय–सापेक्ष र प्रतिस्पर्धी बनाउनसंशोधन गरिएको छ ।
विभिन्न समयमा पेट्रोलियम अन्वेषण तथा उत्खननका लागि प्रयास नभएका होइनन् । सन् १९८५ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी पेट्रोलियम सम्झौताबाट अन्वेषण खण्ड १० (विराटनगर)मा विस्तृत अन्वेषण कार्य तथा उत्खननका लागि अमेरिका र नेदरल्यान्डको जोइन्ट भेन्चर कम्पनीलाई जिम्मेवारी सुम्पिइएको थियो । उक्त कम्पनीले सो क्षेत्रमा विस्तृत अन्वेषण कार्य सम्पन्न गरी१९९० मा मोरङको राधानगरमा ३.५ किलोमिटरको अन्वेषणात्मक ड्रिलिङ कार्य गरेको थियो ।
त्यसबखतको जनआन्दोलनले अन्वेषण कार्यलाई प्रभावित पार्‍यो भनिन्छ । ३.५ किमि गहिराइसम्म कुवा खन्दा पनि भण्डार फेलापर्ने संकेत नदेखेपछि उक्त कम्पनीले पेट्रोलियम फेला नपरेको निष्कर्ष निकाली विधिवत रूपमा सम्झौताबाट बाहिरिएको थियो । पेट्रोलियम कार्यको अन्तर्राष्ट्रिय अभ्यास र प्रचलन अनुसार तथा पेट्रोलियम सम्झौता अनुसार एउटामात्र कुवा खनेर पेट्रोलियमको भण्डार रहे/नरहेको निष्कर्ष निकाल्न सकिने वा नसकिनेबारे तर्क/वितर्क गर्न सकिने अवसर सुरक्षित नै छ ।
सन् १९९८ मा अन्वेषण खण्डहरू ३ (नेपालगन्ज) र ५ (चितवन) मा पेट्रोलियम अन्वेषण गर्नअमेरिकाको टेक्साना रिसोर्स कम्पनीसँग पेट्रोलियम सम्झौता भएको थियो । २००४ मा अन्तर्राष्ट्रिय बोलपत्रबाट छनोट भई स्कटल्यान्डको कैर्न इनर्जी, पीसीएलसँग ५ वटा अन्वेषण खण्डहरू १ (धनगढी), २ (कर्णाली), ४ (लुम्बिनी), ६ (वीरगन्ज) र ७ (मलङ्गवा) मा पेट्रोलियम कार्य गर्न पेट्रोलियम सम्झौता भयो । तत्पश्चात् २०१२ मा बाँकी रहेका ३ वटा अन्वेषण खण्डहरू अन्वेषणका लागिसरकारले युएईको इमिरेट्स एसोसियटेड बिजनेस ग्रुप, युएई/बीबीबी च्याम्पियन्ससँग अन्वेषण खण्डहरू क्रमशः ८ (जनकपुर) र ९ (राजविराज) तथा १० (विराटनगर) मा काम गर्नेगरी पेट्रोलियम सम्झौता गरेको थियो ।
सन् २०१२ सम्ममा सम्पूर्ण अन्वेषण खण्डहरू पेट्रोलियम सम्झौताबाट माथि उल्लिखित कम्पनीहरूलाई प्रदान गरिएको थियो । १९८५ मा सम्झौता गरेको सेल/ट्रिटन बाहेक पछिल्ला समयमा पेट्रोलियम सम्झौताद्वारा आबद्ध कुनै पनि कम्पनीले सम्झौता मुताबिक कार्यसम्पादन गरेनन् वा गर्न सकेनन् । खानी तथा भू–गर्भ विभागले पटक–पटक ताकेता गर्दा पनि कार्य सुचारु नभएपछि विभिन्न चरणमा छलफल भई सरकारले २०७१/०७२ मा उक्त कम्पनीहरूसँगको पेट्रोलियम सम्झौता रद्द गरी हाल सम्पूर्ण अन्वेषण खण्डहरू फुकुवा गरेको छ ।
दैलेखमा सञ्चालनमा आइरहेको विस्तृत पेट्रोलियम अन्वेषण कार्य प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१६ को चीन भ्रमणको क्रममा नेपाल सरकार र चीन सरकारबीच भएको द्विपक्षीय सहमतिको मूर्तरूप हो ।
दैलेख क्षेत्रमा पेट्रोलियम अन्वेषण सम्बन्धी कार्य भएको यो पहिलो पटकचाहिँ होइन । पेट्रोलियम अन्वेषण परियोजनाका भू–गर्भविद्हरूले प्रारम्भिक चरणको भौगर्भिक अध्ययन पूरा गरी भौगर्भिक नक्सासमेत तयार पारेका छन् । हाल सोही नक्सालाई आधार मानी विस्तृत अन्वेषण कार्य सञ्चालन भइरहेका छन् । यस क्षेत्रमा चिनियाँ टोलीहरूले सङ्कलन गरेका स्रोत चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको जानकारी गराएका छन् । जमिनमुनिपेट्रोलियम पदार्थलाई थुनेर राख्नसक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतही अध्ययनबाट पनि देखिएका छन् । सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक पर्ने स्रोत चट्टान, त्यसलाई भण्डार गर्नसक्ने खालका चट्टान, पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौगर्भिक संरचनाहरू यस क्षेत्रमा पेट्रोलियमको भण्डार हुनसक्ने सम्भावनाका बलिया आधार हुन् ।
दैलेख जिल्लामा सञ्चालित पेट्रोलियम अन्वेषण कार्य अन्तर्गतका पेट्रोलियम जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जियोकेमिकल स्याम्पलिङ कार्य अबका केही हप्ताभित्रै सम्पन्न हुँदैछन् । यस अन्वेषण कार्य अन्तर्गतको महत्त्वपूर्ण मानिएको विस्तृत सिस्मिक सर्भेको कार्य सुचारु भइरहेको र आगामी २–३ महिनासम्ममा सो कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ३ वटा पूर्व–पश्चिम र ७ वटा उत्तर–दक्षिण दिशामा फैलिएका जम्मा १० वटा सिस्मिक लाइनहरूमा जम्मा २०० लाइन किमि सिस्मिक सर्भे गरिनेछ र यसले यस क्षेत्रको करिब ४०० वर्ग किमि भूभाग ओगटेको छ । दैलेख जिल्लाको मुख्यतया दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायणनगरपालिका क्षेत्रमा यो कार्यलाई केन्द्रीकृत गरिएको छ भने चामुण्डा विन्द्रासैनी नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकाको केही भू–भाग पनि यस अन्वेषण कार्यमा समेटिएका छन् ।
सिस्मिक सर्भे कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरू जमिनको सतहमुनि धेरै गहिराइसम्म पठाइन्छ र सतहमुनिका विभिन्न तहमा ठोक्किएर फिर्ता भएका तरङ्गहरूलाई सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड गरिन्छ ।
सिस्मिक सर्भेको स्थलगत कार्य सम्पन्न भएपश्चात रेकर्ड गरिएका विभिन्न गहिराइबाट परावर्तन भई आएका तरङ्गहरूको प्रशोधन गर्ने कार्य हुन्छ । प्रशोधन गरेर
तयार भएको तरङ्गहरूको सूक्ष्म विश्लेषण गरी पेट्रोलियमको भण्डार हुनसक्ने सम्भावित भौगर्भिक संरचना पहिचान गर्ने कार्य गरिन्छ । अन्वेषणको अर्को चरणमा विश्लेषणबाट यकिन गरिएको स्थानमा अन्वेषणात्मक ड्रिलिङ गरी तोकिएको स्थानमा पेट्रोलियम भण्डार रहे/नरहेको पुष्टि गर्ने कार्य हुन्छ ।
अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम भण्डार भएको पुष्टि भएमा सो भण्डारको आर्थिक विश्लेषण अन्तर्गत भण्डारको आकार, प्रकार, आयतन, व्यापारिक रूपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको विश्लेषण गरी प्रमाणित भण्डार व्यापारिक प्रयोजनको लागि उपयुक्त छ वा छैन, त्यसको निष्कर्ष निकालिन्छ ।
माथि उल्लेखित चरणहरूबाट व्यापारिक महत्त्वको भण्डार रहेको प्रमाणित भएमा सो भण्डारलाई उत्पादन प्रक्रियामा अगाडि बढाइन्छ ।
पेट्रोलियम कार्य आफैमा अनिश्चित, चुनौतीपूर्ण र आर्थिक जोखिमयुक्त कार्य हो । अध्ययन, अनुसन्धानबाट सम्भावना देखिएका कैयौं स्थानमा खोजी कार्य सफल नभएका उदाहरणहरू भेट्न सकिन्छ । पेट्रोलियमको खोजीमा यस्ता जोखिमलाई स्वीकार गर्नुको एकमात्र कारण खोजी कार्यबाट सफलता हासिल भएमा त्यसबाट प्राप्त हुने उपलब्धि नै हो । पेट्रोलियम खोजीमा अन्वेषणका विभिन्न चरण पार गर्नैपर्छ । यस्ता जोखिम स्वीकार गर्नैपर्ने हुन्छ । सन् १९८५–१९९० सम्म सेल/ट्रिटनले गरेको विस्तृत अन्वेषण कार्यपछि चीन सरकारको सहयोगमा चाइना जियोलोजिकल सर्भे र खानी तथा भू–गर्भ विभागको संयुक्त प्रयासमा दोस्रोपटक त्यही स्तरको अन्वेषण कार्य दैलेख जिल्लामा सञ्चालित छ । सम्भावना र आशावादी हुने ठाउँ प्रशस्तै छ । तर त्यसको पुष्टि अध्ययन, अनुसन्धानको अन्तिम निष्कर्षले नै बताउनेछ । हाल दैलेखमा सञ्चालन भइरहेको अन्वेषण कार्य प्रथम चरणको अन्वेषण कार्यपछिको महत्त्वपूर्ण दोस्रो चरणको अन्वेषण कार्य हो । यसबाट प्राप्त नतिजाहरूको विश्लेषणबाट सकारात्मक उपलब्धि हासिल भई व्यापारिक महत्त्वको पेट्रोलियम भण्डार फेला परेमा देश नयाँ युगमा प्रवेश गर्ने विश्वास गर्न सकिन्छ ।

डा. गणेशनाथ त्रिपाठी
लेखक खानी तथा भू–गर्भ विभाग अन्तर्गत हाल दैलेखमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनामा संलग्न छन् ।

Page 7
विविधा

नयाँ निरो, पुरानै बाँसुरी

- यादव देवकोटा

 

दासताको पाइन
विसं १८१४ मा पलासीको लडाइँमा विजय हासिल गरी ‘इष्ट इन्डिया कम्पनी’ भारतीय भूमिमा विजयको झण्डा फहराउन उभिएको २५ दिनअघि गोर्खालीहरू कीर्तिपुरमाथिको पहिलो हमलामा पराजित भएका थिए । विसं १६५७ मा इष्ट इन्डिया कम्पनी गठन गरी व्यापारको आवरणमा भारतलाई नियन्त्रणमा लिने ब्रिटिस अभियान सुरु भयो, एलिजावेथको राज्यकालमा । मुगल वादशाह जहाँगिरबाट आफ्नै कानुन अनुसार व्यापार गर्ने अधिकार पायो, इष्ट इन्डिया कम्पनीले । त्यो व्यापारका कोठीहरू कलकत्ता, मद्रास, बंगाल, दक्षिण भारतभर फैलियो ।
पछि, विसं १८१४ मा बंगालका नवाव सिराजुद्यौलालाई पलासी युद्धमा पतन गराई इष्ट इन्डिया कम्पनीको झण्डा फहरायो भारतमा । उनको पराजय आफ्नै सेनापति मिरजाफरको निर्लज्ज र कपटपूर्ण विश्वासघातले भएको थियो । त्यसबाट त्रसित भई एकगठ भएका मुगल सम्राट, अवध र बंगालका नवावहरूको गठबन्धनलाई विसं १७२१ मा बक्सरमा पराजित गरेपछि इष्ट इन्डिया कम्पनीले भारतमा आफ्नो स्थायी उपनिवेशको आधार तयार गर्‍यो । त्यही आधारमा स्थापित ब्रिटिस साम्राज्यवादको भारतस्थित अखडाले पुग–नपुग दुई सय वर्षसम्म उपनिवेशको बुटमुनि दबाएर भारतीय जनचेतनालाई दासताको पाइनमा घोलेको थियो । बेलाबखत त्यो दमित चेतना अझै पनि दासताको अत्यासलाग्दो निलडाम छामेर प्रत्युत्पन्न मतिका साथ अरुमाथि थोपरिने कुरूप चरित्रका साथ अग्रसर हुन खोज्छ र छिमेकीमाथि बलमिच्याइँ गर्छ ।

विद्रुपीकरण १
गोर्खा राज्य विस्तार हुँदै जाने क्रममा कान्तिपुरे राजा जयप्रकाश मल्लले गुहार लगाएपछि मद्दतका लागि किन्लकको नेतृत्वमा आएको बेलायती फौज पौवागढी भिडन्तमा गोर्खाली लडाकुहरूबाट पराजित भएको थियो । काठमाडौं उपत्यका जितेपछि पृथ्वीनारायणले यहाँ रहेका क्रिस्चियन धर्मप्रचारकहरूलाई निकाला गरेका थिए । यी दुवै घटनाले कम्पनी सरकारको ‘फिल्ड कमाण्ड’ गरिरहेका गभर्नर जनरलको कान इसाई पादरीहरूले राम्रैसँग फुकेर नेपाल (विस्तारित गोर्खा राज्य) प्रति बदलाको मनोभाव पैदा गराएको थियो । पादरी जिस्सेपीहरू लेखै लेखेर पृथ्वीनारायणको विद्रुपीकरणमा लागिपरेका थिए भने ‘फौजी मिसनरी’हरू बदलाको उपयुक्त मौका खोजेर बसेका थिए ।

उपाय १
गोर्खा राज्यले आफ्नो आकार बढाउँदै जाँदा काठमाडौंमा मुकाम सारेर मकवानपुर, चौदण्डी र विजयपुरसम्म आफ्नो धुन्य फहराउन पुगेको थियो । कम्पनी सरकार भने मकवानपुर र विजयपुरका भूभागमा आफ्नो दाबी अघि सारिरहेको थियो । पृथ्वीनारायणले चतुर कूटनीतिक बाटो समात्दै आफ्ना दूतमार्फत कम्पनी सरकारलाई ‘भएका सबुद तथा प्रमाणहरूको आधारमा दुई पक्षमध्ये जसको ठहर्छ, त्यसलाई दुवै पक्षले मान्यता दिने’ सन्देश पठाए । सुब्बा दिनानाथ उपाध्यायलाई खटाई
जम्मा गरिएको प्रमाणका आधारमा सालिन्दा १४ हात अग्ला दुई हात्ती कम्पनी सरकारलाई बुझाउनेगरी मकवानपुर अधीनस्थ हालका बारा, पर्सा, रौतहटको भोगचलन नेपाल अधीनस्थ रहने निर्क्योलमा पुग्न कम्पनी सरकार बाध्य भयो (आचार्य, बाबुराम– जनरल भीमसेन थापा ः यिनको उत्थान तथा पतन, पृ. ११२) । प्रमाण बोलेपछि कम्पनी सरकारको अर्घेल्याइँ पृथ्वीनारायणको चतुर्‍याइँको मुनि पिल्सियो ।
उपाय २
हालको रणमुक्तेश्वर (निर्मल विद्यापीठको भवन) मा रणबहादुरको हत्या भएपछि त्यही घानमा पृथ्वीनारायणको पालादेखि राज्य बढाउने उद्योगमा सामेल तमाम भारदारहरूको कत्लेआम गरेर भीमसेन थापाले शक्ति आफ्नो परिवारमा पजनी गरे । पृथ्वीनारायणको पाला अघिदेखि नै अन्य राज्यको तुलनामा समावेशी गोर्खाली फौजी नेतृत्वलाई भीमसेन चरम खसकरण गरे । मगर, पाँडे, नेवारहरू राजकाजको चौघेराबाट पर हुत्याइए । राज्य र फौजी कमाण्डमा थापाहरू छानी–छानी हुलिए । राज्य विस्तारमा सामेल नेतृत्व पंक्तिको कत्लेआम र राज्यको परिवारकरणले नागरिकहरूमा भीमसेनप्रति चरम असन्तोष, निन्दा र आक्रोशको हुण्डरी मच्चाएको थियो, भित्रभित्रै । भीमसेनको दबदबाका कारण बाहिर मुखर भएर प्रकट नभए पनि त्यसले भुसमा सल्किएको आगोझैं भित्रभित्रै चरम स्वरुप हासिल गर्दै गएको थियो ।
त्यही बखत विस्तारित नेपालको अधीनस्थ बुटवल र स्युराज (शिवराज) माथि कम्पनी सरकारले दाबी बढायो । पुराना र लडाइँ–भिडाइँमा अनुभव हासिल गरेका बडाकाजी अमरसिंह थापा, मुलुकी सुब्बा चौतारिया बम शाह, राजगुरु रङ्गनाथ पण्डित, भक्ति थापा लगायतले ‘अहिलेको विकट परिस्थितिमा आफूभन्दा बलियो विपक्षीसँग यत्तिकै लडाइँमा होमिन ठिक छैन । विवादित भूमि कम्पनी सरकारलाई दिएर भए पनि युद्ध टार्नुपर्छ । अहिले जितेकै भेगमा सुव्यवस्था कायम गर्न सकिएको छैन । फौजी तयारीहरू व्यवस्थित छैनन् । सर्वप्रथम आफ्ना सैनिक तयारीहरूलाई पूरा गर्नुपर्छ, अनिमात्रै उनीहरूको सशक्त रूपमा मुकाविला गर्न सकिन्छ’ भन्ने सुझाव भीमसेन थापा समक्ष पठाएका थिए । तर, चरम नागरिक असन्तोषलाई विषयान्तर गर्न भीमसेनले देशलाई बहुलट्ठीपूर्ण तवरले युद्धमा होमिदिए । परिणाममा विस्तारित नेपालको एक तिहाइ भूमि सुगौली सन्धिका नाममा गुम्यो । कतिपयले विवादित भूमि दिएको भए पनि अंग्रेजहरूले हमला गरिछाड्थे, त्यो त बहाना मात्रै हो भनिरहेको पनि पाइन्छ । त्यसो हुन पनि सक्थ्यो रे । तर, त्यो अनुमान मात्रै किन पनि भैदियो भने हामीले दाबी गरेका भेग छोडेनौं । छोड्दा पनि आक्रमण गरेका भए, उसको अर्घेल्याइँको अनुहार अर्कै तवरले उदाङ्गिन्थ्यो ।
आजका विवादित भूमिबारे समाधानको उपाय हाम्रो राष्ट्रिय तागतको बलमा पृथ्वीनारायणको बाटो अघि बढ्ने कि भीमसेनको भनेर रोज्ने काम भने हाम्रै हो ।

विद्रुपीकरण २
ईशाको पहिलो शताब्दी । जुलाई १८, सन् ६४ । सर्कस म्याक्सिमसका नामले प्रख्यात घोडा दौड (खासमा रथ प्रतिस्पर्धा) गराइने रंगशालामा रहेको एउटा पसलबाट मध्यरातमा आगो फैलियो । निकै बतास चलेको उक्त दिन हावाको वेगसँगै आगोको लप्को फैलियो र एकसाता बढी चलेको भीषण आगलागीले प्राचीन रोमको दुई तिहाइ भाग जलाएर भष्म बनायो ।
लेखपढको प्रमुख ‘ठेकेदारी’ सम्हालेका क्रिस्चियन पादरीहरूद्वारा लिखित विवरण र तिनले फैलाएको अफवाह, जो प्रमाणको बलमा आजसम्म उभिएको पाइएको छैन, त्यसले निरोलाई रोम जल्दा मस्ती र नाचगानमा लागेका शासकको रूपमा विद्रुपीकरण गरेकाले हामीसमेत निरोलाई संवेदनाहीन विम्बको रूपमा उभ्याउने गर्छौं । निरो १६ वर्षको उमेरमा सन् ५४ मा रोमको शासक बनेका थिए । रोममा आगलागी हुँदा उनी एन्टियममा थिए । रोम जलेको खबरपछि तत्काल उनी रोम फर्किए । पादरीहरूले फैलाएको भ्रमित विवरण अनुसार तिनै निरोले आफ्ना एक वफादारलाई जँड्याहाको हाउभाउसहित प्रज्वलनशील पदार्थ बिक्री गरिने कुनै पसलमा आगो झोस्न पठाएका थिए । उनी रोमको अव्यवस्थित र क्रिस्चियन आधिपत्यले प्रताडित बस्तीको बनावटसँग असन्तुष्ट थिए । पादरी वितरित विवरण विपरीत बरु निरोले आगलागीका लागि जिम्मेवार ठहर्‍याइएका सयौं क्रिस्चियनलाई गिरफ्तार गरेर र गहिरो अनुसन्धान गराएका थिए, आगलागी गरेको आरोपमा । त्यसरी आगलागीका लागि क्रिस्चियनहरूलाई जिम्मेवार ठहराउनुका साथै गिर्जाघरहरूको ठाउँमा भव्य दरबार र नागरिक बसोबास बसाएपछि क्रिस्चियन आधिपत्यका ठेकेदारहरू तिल्मिलाए र निरोलाई विद्रुपित गर्न कुनै कसर बाँकी राखेनन् । जसरी हामीकहाँ पौवागढीमा इसाईहरूले निम्त्याएको इष्ट इन्डिया कम्पनीको फौजलाई धुलो चटाउने र उपत्यकामा धर्मान्तरमा सामेल मिसनरीहरूलाई निकाला गरेको बदलामा उनीहरूले पृथ्वीनारायणलाई, गोर्खा विस्तार अभियानको मर्मलाई विद्रुपीकरण गर्न कुनै कसर बाँकी राखेनन् । त्यसमा आफ्नै कमजोरी र सीमा अवश्य थिए । तर संसार हडप्न बन्दुक, तरवार र बाइबल बोकेर हिँडेको र जितका लागि मानव बस्तीमा बम खसाल्नेहरूले अरुलाई सिकाउने मानवतावाद भने आफैंमा टिठलाग्दो मजाक नबन्ने कुरै भएन । अफगानिस्तानदेखि इराकसम्म, प्यालेस्टाइनदेखि सिरियासम्म अबोध बालबालिकादेखि निरपराध मानिसहरूको बस्तीमा क्रिस्चियन/पश्चिमा आधिपत्य लाद्न बम खसाल्नेदेखि अन्धाधुन्द बन्दुक पड्काउने कदमबारे मौनता साँध्ने पश्चिमाहरूको गढीमाई (बरियारपुर) का राँगोभैंसीका नाममा पोखिएको आँसुको प्रायोजन नाङ्गिदै जानु कुनै अनौठो होइन, रोमकै निरोको विद्रुपीकरणको ‘प्रोजेक्ट’ बुझ्नेहरूलाई । बरियारपुर होस् या भ्याटिकन, जनावरहरूको विभत्स बलि व्यवस्थित गरिनु अपरिहार्य छ, यो अर्कै कुरा हो । सके थ्यांक्स गिभिङका नाममा अथाह रूपमा मारिने टर्कीको बलि होस् या कुनै मन्दिरका नाममा दिइने राँगोको बलि होस्, त्यो रोकिनुपर्छ, यो राम्रै र अनुकरण गर्नलायकै कुरा हो ।
जे होस्, जसले आगलागी गरे पनि गिर्जाघरहरूको अव्यवस्थित बाहुल्यताले भरिएको रोम खरानीको थुप्रोको रूपमा निरोको अघि उभिएको थियो । त्यहीं उनले भव्य बगैंचासहितको स्वर्ण दरबार भनिने ‘डोमुस औरिया’ बनाए र आफ्नै योजनामा सहर बसाले । यताका दिनमा रोमन पादरीहरूले पुष्टि गर्ने कुनै प्रमाणविनै ‘रोम जलिरह्यो, निरो भायलिन (नेपालीमा त्यो बाँसुरी बजाएको भनेर अपभ्रंशित छ) बजाइरहे’ भनेर हल्ला फिँजाए । जबकि त्यो समयमा भायलिन नै अस्तित्वमा थिएन रोममा । यो एघारौं शताब्दीमा विकसित भएको मानिन्छ । यस विपरीत बरु निरो आफैं गीत लेख्थे र गाउँथे पनि । आगलागीले पीडित भएका रोमवासीहरूलाई उनले आफ्नै दरबारमा आश्रय दिएका थिए । पीडितहरूलाई मानिसक पीडामा रहन नदिन गीत–संगीत सुनाउने कामलाई उद्धार, राहतको साथसाथै अघि बढाएका थिए । यसरी आफ्नो स्वार्थ विपरीत उभिनेहरूलाई अपभ्रंशको सुलीमा चढाएर विद्रुपीकरण गर्ने र नयाँ–नयाँ निरोका रूपमा डाम्ने प्रयास निरन्तर जारी छ । त्यो प्रयासमा भिराइएको बाँसुरीको कथा भने पुरानै छ ।

विद्रुपीकरण ३
त्यो प्रयास हालैको दिनमा लिम्पियाधुरा, लिपुलेकमा भारतीय दादागिरी फेरि एकपटक नवजारी नक्सामार्फत प्रकट भएपछि त्यसलाई वैध ठहर्‍याउने भारतीय योजनाबद्धताको हिस्सेदार बनेर पूर्व शासक महेन्द्रका विरुद्ध विघठित हुन आइपुगेको छ । भारतले एक्काइसौं शताब्दीको सुरुवातमै नेपालका विभिन्न भेगमा राखेको सुरक्षापोष्ट महेन्द्रले हटाएका थिए । डेढ दर्जन त्यस्ता पोष्टहरूमध्ये सुदूर पश्चिमी विकट भेग कालापानी–लिपुलेकमा अवस्थित सुरक्षापोष्ट भारतीय पक्षले बलमिच्याइँपूर्वक हटाएन । त्यसैलाई देखाएर महेन्द्रले नै त्यहाँ भारतीय सुरक्षापोष्ट राख्न दिएको भनेर भारत परिचालित नेपाली राजनीतिक गोटीका सफेद चेहरा मानिएका हृषिकेश शाहलाई सिरानी हालेर यताका दिनमा प्रचारको लहर चलाइएको थियो । भारत निर्देशित २००७ को परिवर्तनपछि प्रशासनिक पुनर्संरचनाका लागि भनेर ल्याइएका भारतीय अधिकारीहरूमार्फत तयार गरी पछि महेन्द्रीय राष्ट्रवादका शास्त्रमार्फत वितरित नक्सालाई देखाएर लिपुलेक, लिम्पियाधुरासम्मको नेपाली भूगोलमा भएको भारतीय अतिक्रमणलाई विवादित भूमिका रूपमा प्रचार गर्ने भारतीय योजनाको जानी–नजानी हामी मतियार बनिरहेको पनि देखिन्छ ।
पंक्तिकार महेन्द्रको ‘पाखण्डी राष्ट्रवादी’ भाष्यसँग सदैव असहमत छ । त्यसबारे पहिल्यै पनि प्रशस्त लेखिसकिएकाले त्यता नलागौं । तर, कथित राष्ट्रवादी महेन्द्रले समेत भारतलाई दिइसकेको कालापानी, लिम्पियाधुराबारे अहिले बेकारको अर्घेल्याइँ भनेर जसरी भारतीय अतिक्रमणलाई वैध ठहर्‍याउन ‘ए त्यो त महेन्द्रले दिइसकेको नि’ भन्ने किसिमले प्रचार गरिएको छ, त्यस्ता अजासुहरूलाई महेन्द्रले भारतलाई ती भूमि दिएको प्रमाण लिएर सार्वजनिक बहसमा आउन चुनौती दिन सकिन्छ । ‘त्यो त पहिल्यै दिइसकेको नि’, ‘महेन्द्रले दिइसकेको नि’, ‘छ दशकदेखि मौनता साँधिएको नि’ भनेर भारतीय अतिक्रमणलाई वैध ठहर्‍याउन र नेपाली भूमिको अतिक्रमण विरुद्ध उद्वेलित जनचेतनालाई धरमरमा पार्ने योजनाबद्धताको योभन्दा खुलेआम चेहरा अरु हुन सक्दैन । हो, महेन्द्रकै पालामा पनि भारतीय अतिक्रमण जारी थियो । उनले त्यसलाई हटाउन सकेनन्, चाहेनन् । तर त्यसको मतलव त्यो भूमि उनले दिएको ठहर हुने हो ?
आजको दिनमा दादागिरी देखाउँदै गरिएको त्यस्तो अतिक्रमण हामीले हटाउन सकेनौं भन्दैमा त्यो अतिक्रमित भूमि हामीले भारतलाई दिएको ठहरिन्छ, भविष्यमा ? कि छ दशकभन्दा बढी समयदेखि एकपक्षीय रूपमा भारतले अतिक्रमण गरिरहेको भूमि हुन्छ त्यो ? अन्यथा दुई हजार वर्ष अघि नै रोम जल्दा निरोले नबजाएको बाँसुरी आज आफ्नो निहितार्थलाई चरितार्थ पार्न खडा गरिएका नयाँ निरोको ओठमा पुरानै बाँसुरीको धुन फैलाउने दुःख केका खातिर आइलागेको हो अजासुहरूलाई ?
ट्वीटर : @gaunkomanchhey

विविधा

बुद्धबारे भ्रम

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २७ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्र संघको ७४ औं महासभामा सम्बोधन गर्दै भने, ‘हामी त्यो देशको बासिन्दा हौं, जसले संसारलाई युद्ध होइन, बुद्ध दियो ।’ सम्बोधनका क्रममा त्यत्तिकै भावनामा बहकिएर आएका वाणी थिएनन् ती । न झुक्किएर फुत्त निस्किएका वाक्य नै थिए । ती थिए, गौतम बुद्ध भारतमै जन्मेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्ने योजनाबद्ध अभिव्यक्ति । जसमा प्रयोग भयो– महासभाको मञ्च । मोदीबाट भएका यो घटना पहिलो होइन, यस अघि पनि उनले जापान र युरोपको मञ्च यसैगरी प्रयोग गरे ।
अहिले मोदीले राष्ट्र संघको महासभामा गौतम बुद्ध सम्बन्धी उच्चारण गरेको वाक्यांश विश्वभर चर्चामा छ, जसले गौतम बुद्धको जन्मको विवादलाई पुनः सतहमा ल्याइदिएको छ । बुद्ध र बुद्ध दर्शनमाथि आस्था राख्ने विश्वभरका बौद्धमार्गीका लागि यो चिन्ताको विषय हो । स्वीडेनस्थित अपसाला विश्वविद्यालयका प्राध्यापक अशोक स्वेनले राष्ट्र संघको महासभामा गौतम बुद्ध जन्मको सम्बन्धमा मोदीबाट सम्बोधित भाषण विरुद्ध आलोचना गर्दै ट्वीट नै गरे, ‘संयुक्त राष्ट्र महासभाको आफ्नो भाषणमा मोदीले विश्वलाई भारतले बुद्ध दिएको दाबी गरे । बुद्ध भारतमा होइन, नेपालको लुम्बिनीमा जन्मेका हुन् । मोदीबाट भएको इतिहासको विकृति लाजमर्दो विषय हो ।’
सत्य प्रोफेसर स्वेनकै ट्वीट हो । यसका लागि धेरै टाढा जानै पर्दैन, संयुक्त राष्ट्र संघकै तथ्य अध्ययन गरे पुग्छ । जसलाई विश्वले समेत अनुमोदन गरिसकेको छ । बैसाख शुक्ल पूर्णिमा गौतम बुद्धको जन्म दिन हो । यही दिन राष्ट्र संघले प्रत्येक वर्ष ‘बैसाख डे’ मनाउँछ । जसको सम्पूर्ण संयोजन राष्ट्र संघस्थित नेपाल डेक्सले गर्छ । ‘बैसाख डे’ नेपालको हो, भारतको होइन । बुद्ध नेपालमा जन्मको पुष्टि गर्न योभन्दा ठूलो प्रमाण के हुनसक्छ ?
बुद्धको जन्म सम्बन्धमा राष्ट्र संघ अन्तर्गतकै युनेस्कोले तयार पारेको अध्ययन प्रतिवेदन पनि यसको दरिलो प्रमाण हो, जसले गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको तथ्य फेला पारेको थियो । यसका लागि युनेस्कोले पुरातत्त्वविद् नेपालको लुम्बिनी पठायो । उनीहरूले लुम्बिनी आसपासका अनेक क्षेत्र उत्खनन गरे । उत्खननबाट शाक्यमुनीको दरबार लुम्बिनीमै रहेको पुष्टि भयो । यस क्रममा बुद्धले प्रयोग गरेका गुम्बा, ध्यान गरेका स्थान, बालापन बिताएका क्षेत्र फेला परे । अथक अनुसन्धानपछि अन्ततः बुद्ध लुम्बिनीमै जन्मेको पुष्टि भयो । युनेस्कोको यो तथ्य अहिले पनि वेबसाइटमा अध्ययन गर्न सकिन्छ ।
यही सन्दर्भमा मौर्य वंशीय सम्राट अशोक (२६८–२३२ बीसी) ले लुम्बिनीमा स्थापना गरेको अशोक स्तम्भमा उल्लेखित विवरण यहाँ सान्दर्भिक देखिन्छ । सम्राट अशोक भारतका सिकन्दर थिए । युद्धपछिको ह्याङओभरबाट मुक्ति पाउन उनी लुम्बिनी आए । आफ्नो नाममा स्तम्भ बनाए । सोही स्तम्भमा उनले गौतम बुद्ध लुम्बिनीमै जन्मेको भनेका छन् । छैठौं शताब्दीको उत्तरार्धतिर चिनियाँ तीर्थयात्री ह्विन चाङ नेपाल आए । उनले पनि गौतम बुद्ध नेपालमा नै जन्मको भनेका छन् ।
यी तथ्यबारे विश्व जानकार छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जब अन्तर्राष्ट्रिय मञ्चमा पुग्छन्, त्यसबेला मञ्चको दुरुपयोग गर्दै सधैं भन्ने गर्छन्, ‘गौतम बुद्ध भारतमै जन्मेका हुन्, नेपालमा जन्मेको त सिद्धार्थ गौतम मात्रै हुन् ।’ यही तर्कका आधारमा भारतीय प्रधानमन्त्री मोदी भन्न सक्छन् ? ‘हार्वर्ड युनिभर्सिटीमा पीएचडी गरेका भारतीय, भारतीय नभई अमेरिकी हुन् । अक्सफोर्ड विश्व विद्यालयबाट उच्चशिक्षा हासिल गरेका भारतीय ब्रिटिस हुन् ?’
मिथमा आधारित रोचक तथ्य
गौतम बुद्धको जन्मका सम्बन्धमा केही मिथ यस्ता छन्, जुन संसारभर चर्चित छन् र पाली भाषामा लेखिएका छन् । यसले के पुष्टि गर्छ भने गौतम बुद्ध केवल भौतिक रूपमा जन्मेका थिएनन् । उनी आध्यात्मिक रूपमै जन्मेका थिए । जन्मे बित्तिकै सात पाइला हिँडेर औंला ठड्याउँदै ‘म संसारको भ्रातृत्व विकासका लागि जन्मेको हूँ, मपछि अर्को बुद्ध हुने छैन’ वाणी हुनु यसैको उदाहरण हो । यो तथ्य अहिले पनि हामी लिखित रूपमा भेट्न सक्छौं ।
जन्मेको सात दिनपछि आमा मायादेवीको मृत्यु भयो । उनी दरबारमै हुर्के । बढे । दीक्षित भए । तर उनको क्रियाकलाप अलौकिक किसिमका थिए । उनी पटक–पटक दरबार बाहिर निस्कन्थे । बाटोमा गरिब देख्थे । रोगी, बूढा र निमुखा देख्थे । मृत्यु भएको मानिस भेट्थे । यसले उनलाई दुःखी बनाउँथ्यो । यी घटनाले उनको मनमा अनेक प्रश्न जन्माउँथ्यो । मानिस किन मर्छन् ? किन दुःखी र गरिब हुन्छ ? मानिस बूढो र रोगी किन हुँदा हुन् ? यस्ता प्रश्न सधैं उनको मनभित्र घुमिरहन्थ्यो ।
उनले दरबारको विभेद देखे । यो दुःखबाट मानिसलाई कसरी मुक्ति दिन सकिन्छ ? यसैको खोजीका लागि उनी दरबारको सबै वैभव त्याग्न तयार भए । यो क्रियाकलापबाट उनको बुबा राजा शुद्धोदन खुसी थिएनन् । उनी छोरालाई यसबाट मुक्त गर्न चाहन्थे । राजकाजमा लगाउन चाहन्थे । चक्रवर्ती सम्राट बनाउने उनको योजनामा थियो । तर यसतर्फ सिद्धार्थ गौतमको कुनै रुचि थिएन ।
यस्ता क्रियाकलापबाट आजित राजपरिवारले उनलाई मुक्त गर्न अनेक प्रयत्न गरे । मोजमस्तीमा डुबाउन खोजे । नाचगानमा भुलाउन खोजे । धाइ सुसारेको सुविधामा राख्न खोजे । सुरा–सुन्दरीको चौघेरामा कैद गर्न खोजे । विवाह बन्धनमा बाँधे । तर उनलाई यीमध्ये कुनैले असर गरेन । उनी मानवलाई दुःखबाट मुक्ति गर्ने बाटोतर्फ नै मोडिन खोजे । अन्ततः २९ वर्षको उमेरमा उनले दरबार त्यागे । जुन बेला उनी भर्खर मात्रै बाबु बनेका थिए ।
यी विविध क्रियाकलापले पुष्टि गर्छ कि गौतम बुद्ध जन्मँदै अलौकिक थिए । सिद्धार्थ गौतमकै बेलामा उनीभित्र बुद्धत्व विकास भएको थियो । भारतको बोध गयामा गएर त उनले बुद्धत्वको घोषणामात्रै गरेका हुन् ।
दरबार छाडेपछि ६ वर्ष उनी तपस्यामा लिन भए । यस क्रममा संसार हेरे । बुझे । बल्ल उनले ज्ञान प्राप्तिको घोषणा गरे । त्यो ठाउँ थियो, भारतको बोध गया । त्यसो हुँदा गौतम बुद्धले बोध गयामा त ज्ञानको घोषणामात्रै गरेका हुन् । बुद्धत्व त उनीसँग जम्नसिद्ध थियो । लोभ नगर्नु, हत्या नगर्नु, परस्त्रीमाथि आँखा नलगाउनु, साँचो बोल्नु, परिवार र सम्पत्तिमाथि आशक्ति नगर्नु । जसलाई उनले दुःखका कारण भनेका छन् ।
यही सन्दर्भमा नेपाल सरकारले २०७३ मा बुद्ध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्‍यो । यस क्रममा २९ वटा मुलुकका प्रतिनिधि आए । धेरै मुलुकबाट सरकार प्रमुख आए । सोही अवसरमा सातबुँदे घोषणापत्र जारी भएको छ । जसमा ‘लुम्बिनी द बर्ड प्लेस अफ गौतम बुद्ध’ भनिएको छ । त्यसमा भारतको इन्टर नेसनल बुद्धिष्ट कन्फरेन्सका तत्कालीन महासचिव ललित सिंहले समेत हस्ताक्षर गरेका छन् ।
त्यसो हुँदा मोदीले भनेजस्तो नेपालमा सिद्धार्थ गौतम र भारतमा गौतम बुद्ध जन्मेको होइनन् । सिद्धार्थ गौतम या गौतम बुद्ध जे भनौं बुद्ध दर्शनको जन्म नेपालमा भएको हो । जसको विकास गौतम बुद्धले गरेका हुन् ।

आनन्द पोखरेल
लेखक पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन् ।

Page 8
विदेश

क्याम्पसमा ४ हजार पेट्रोल बम

- एजेन्सी

हङकङ – हङकङ प्रहरीले पोलिटेक्निकल युर्निभर्सिटि क्याम्पस (पीयूसी) बाट शुक्रबार करिब ४ हजार पेट्रोल बम बरामद गरेको छ ।
प्रहरीका अनुसार शुक्रबार बरामद गरिएका ३ हजार ९८९ वटा पेट्रोल बममध्ये १ हजार ३३९ वटा निकै विस्फोटक छन् । प्रहरीले क्याम्पस क्षेत्रमा सरसफाई गरि विश्वविद्यालय व्यवस्थापनलाई बुझाइएको जनाएको छ । हङकङमा लोकतन्त्रको मागसहित ६ महिनादेखि आन्दोलन गरिरहेका प्रदर्शनकारीले केही सातादेखि पीयूसीलाई मुख्य अखडा बनाएका थिए । विरोध प्रदर्शनका क्रममा गतसाता उक्त क्याम्पसमा प्रहरी तथा आन्दोलनकारीबीच हिंसात्मक झडपहरू भएका थिए ।
पीयूसी क्षेत्रमा भएको आन्दोलनका क्रममा प्रहरीले १ हजार ३७७ लाई पक्राउ गरेको थियो । तीमध्ये ८१० जनालाई पीयूसी परिसरबाट बाहिरिने क्रममा र ५६७ नजिकैबाट नियन्त्रणमा लिइएको थियो । पक्राउ परेकामध्ये ३१८ जना १८ वर्षमुनिका छन् । हङकङमा लोकतन्त्रको माग गर्दै गत जुनदेखि हरेक सप्ताहन्तमा विरोध प्रदर्शन गरिंदै आएको छ । विरोध चर्किंदै गएपछि प्रदर्शनकारीले बेइजिङ पक्षधर भनिएका व्यापारिक प्रतिष्ठानलाई ताकेर पेट्रोल बम प्रहार गरेका थिए ।
गत जुनमा विवादास्पद सुपुदर्गी विधेयक पारित गराउने सरकारी योजनाको विरोधमा प्रदर्शन सुरु भएको विरोध प्रदर्शन पछिल्ला दिनमा विधेयकको खारेजी तथा हङकङकी कार्यकारी प्रमुख क्यारी लामको राजीनामामा केन्द्रित छ ।
प्रदर्शनकारीलाई समर्थन गर्ने कानुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विहीबार हस्ताक्षर गरेपछि चीन र अमेरिकाबीच जारी तनाव थप उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपतिले हस्ताक्षर गरेको ‘हङकङ मानव अधिकार र लोकतन्त्र ऐन’ मा हङकङले चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे/नगरेकोबारे अमेरिकाले वार्षिक समीक्षा गर्ने व्यवस्था छ ।
ट्रम्पको कदमले चिढिएको बेइजिङले अमेरिकालाई ‘जवाफी कदम चाल्ने’ चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयले ‘अमेरिकाले तथ्यलाई वेवास्था गरेको र सत्यलाई बंग्याएको तथा हिंसात्मक अपराधीलाई खुलमखुला समर्थन गरेको’ आरोप समेत लगाएको छ ।

विदेश

सेनालाई खाना बाँडे

ट्रम्प अकस्मात् अफगानिस्तान पुगे
- एजेन्सी

अफगानिस्तानको बग्राममा सैनिकलाई खाना बाँड्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्बिर ः एपी

 

(काबुल) - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको आकस्मिक भ्रमण गरेका छन् । ‘थ्यांक्स गिभिङ’ का अवसरमा बिनासूचना काबुल पुगेका ट्रम्पले अफगानिस्तानमा खटिएका अमेरिकी सैनिकलाई भेटे ।
बग्राम हवाई सैन्य अखडामा राष्ट्रपति ट्रम्पले सैनिकहरूलाई आफैंले पस्केर खाना दिए । उनीहरूसँगै बसेर खाए र सामूहिक तस्बिर खिचाए । समाचार संस्था एएफपीका अनुसार सैनिकलाई खाना खुवाउने क्रममा राष्ट्रपति ट्रम्पलाई जर्नेल मार्क मिलीले सहयोग गरेका थिए ।
बीबीसीका अनुसार भ्रमणका क्रममा ट्रम्पले अमेरिका र तालिवान विद्रोहीबीच वार्ता भइरहेको जानकारी गाएका थिए । सेनालाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘तालिवान विद्रोहीले वार्तामार्फत् सहमतिको खोजी गर्न चाहिरहेका छन् ।’
भ्रमणका अवसरमा उनले अफगान राष्ट्रपति असरफ घानीसँग पनि भेटघाट गरेका छन् । त्यस क्रममा राष्ट्रपति घानीले ‘अन्तिम बलिदान’ दिएको भन्दै अमेरिकी सेनालाई धन्यवाद दिएका थिए । उनले भने, ‘अफगान फौजले आफ्नो नियन्त्रण कायम गर्दै गइरहेका छन् ।’ हाल अफगानिस्तानमा झन्डै १३ हजार अमेरिकी सैनिक तैनाथ छन् । सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा भएका आतंकवादी आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सैनिक तैनाथ गरेको हो ।
१८ वर्षको अवधिमा तालिवान तथा इस्लामिक स्टेटविरुद्धको कारबाहीका क्रममा करिब २ हजार ४ सय सैनिको ज्यान गइसकेको छ । भ्रमणका क्रमा राष्ट्रपति ट्रम्पले अमेरिकाले अफगानिस्तानमा तैनाथ सैनिकको संख्या ८ हजार ६ सयमा झार्ने बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर कहिलेदेखि सैनिक संख्या घटाइनेबारे भने केही उल्लेख गरेका छैनन् ।
शान्तिवार्ताको पहल सुरु भएपछि हालै तालिवान विद्रोही र अमेरिकी पक्षबीच कतारको दोहामा वार्ता भएको थियो । तर औपचारिक वार्ता भने सुरु हुन सकेको छैन । शान्तिवार्ता थाल्ने उद्देश्यले अमेरिका र तालिवानबीच गतसाता बन्दी साटासाट गरेका थिए ।
अफगान अधिकारीले लामो समयदेखि तालिवानसँग युद्धविराम माग गर्दै आएका छन् । हाल तालिवानले आफ्नो नियन्त्रण कायम राखेको भू–भाग सन् २००१ यता कै सबैभन्दा ठूलो छ ।
यसअघि गत सेप्टेम्बरमा वासिङ्टननजिकैको क्याम्प डेभिडमा हुने भनिएको तालिवान अमेरिकी वार्ता अन्तिम समयमा स्थगित भएको थियो । ट्रम्पले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसहित वरिष्ठ तालिवान नेतालाई वार्ताका लागि बोलाएका थिए । तर काबुलमा तालिवानले गरेको विस्फोटमा अमेरिकी सेनाको ज्यान गएपछि ट्रम्प क्रुद्ध भएका थिए ।

विदेश

भवन निर्माण प्रक्रिया सुरु

अस्ट्रेलियास्थित नेपाली दूतावास
- कान्तिपुर संवाददाता

अस्ट्रेलिया (कास)– अस्ट्रेलियास्थित नेपाली दूतावासले भवन निर्माण प्रक्रिया सुरु गरेको छ । दूतावासले स्थानीय इन्जिनियर तथा आर्किटेक्चरसँग भवन निर्माणको योजनासहित १५ दिनको म्याद राखेर आशयपत्र आह्वान गरेको छ ।
भवन निर्माणका लागि दूतावासले पूर्वराजदूत लक्की शेर्पाको कार्यकालमा क्यानबेरामा १२ लाख डलर करिब १० करोड रुपैयाँमा जग्गा खरिद गरेको थियो । सोही जग्गामा सबै सुविधासहितको भवन निर्माण गर्ने उद्देश्यले दूतावासले प्रक्रिया सुरु गरेको हो ।
स्थानीय पत्रिकामा आह्वान गरिएको आशयपत्रमा दूतावासको भवन निर्माणका लागि तोकिएको दायरामा रहेर आफ्नो इच्छापत्र दिन आर्किटेक्चर तथा इन्जिनियरलाई आग्रह गरिएको छ । विभिन्न कम्पनीले दिएको आशयपत्रलाई मूल्यांकन गरेर छनोटमा परेका कम्पनीलाई आर्थिक तथा प्राविधिक डिजाइनका लागि बोलपत्र आह्वान गरिने तयारी गरिएको छ । ‘हामीले लामो समयदेखि सुरु गरेको गृहकार्यपछि भवन निर्माणको कार्यलाई तीव्रता दिइएको हो ।’ क्यानबेरास्थित अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दहालले कान्तिपुरलाई भने । उनका अनुसार कस्तो भवन र कसरी निर्माण गर्ने विषयमा दूतावासले दुईपटकसम्म यहाँका स्थानीय सरोकारवालाका साथै इन्जिनियर तथा आर्किटेक्चरसँग औपचारिक छलफल गरिसकेको छ ।
कानुनी र अन्य प्रक्रियाहबारे बुझ्नसमेत सरोकारवालासँग छलफल गरिएको बताउँदै राजदूत दहालले उनीहरूको सुझावलाई पनि भवन निर्माणका क्रममा समावेश गरिने जानकारी दिए । दूतावासले सम्पूर्ण सुविधासहितको दुईतले भवन निर्माण गर्ने योजना अघि बढाएको छ । करिब दुई वर्षअघि खरिद गरिएको जग्गामा राजदूतको आवास, कार्यालय, ३ कर्मचारीका लागि आवास, पाहुना घर तथा अन्य पूर्वाधारहरू निर्माण गरिनेछ ।

Page 9
स्वास्थ्य

'एपेन्डिसाइटिस' हुन सक्छ

पेट एक्कासि दुख्यो ?
- अतुल मिश्र

(काठमाडौं) - प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्कासि पेट दुखेपछि गत मंगलबार अस्पताला पुर्‍याइयो । लगत्तै एपेन्डेसाइटिसको शल्यक्रिया गरिएपछि उनी हाल बेडरेस्टमा छन् ।
पुनः मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका ६७ वर्षीय प्रधानमन्त्री ओलीको रोग निरोधक क्षमता कमीका कारण समयमै समस्या पहिचान हुन नसक्दा संक्रमण हटाउन लागि पेट खोलेर नै शल्यक्रिया गर्नुपर्‍यो । तर सबै बिरामीमा भने यस्तो स्थिति आउँदैन । एपेन्डेसाइटिस साधारण संक्रमणदेखि ज्यानै लिन सक्ने स्थिति (सेप्सिस) का रूपमा समेत देखिन सक्छ ।
‘एपेन्डेसाइटिसको समय मै समस्या पहिचान नहुँदा एपेन्डिक्स पेटमै फुटेर पेरिटोनाइटिस (पेटको संक्रमण) हुन्छ, यस्तो स्थितिमा पूरै पेट खोलेर संक्रमण हटाउनुका साथै एपेन्डिक्स फाल्नुपर्छ,’ वरिष्ठ शल्यचिकित्सक डा.सुनिल शर्मा ढकाल बताउँछन् । उनका अनुसार प्रधानमन्त्रीले उपयोग गर्ने ‘इम्युनोसप्रसेन्ट’ औषधिमा भएको एस्ट्रोराइडका कारण समयमै दुखाइ थाहा नभएर जटिल अवस्थामा आएको हो । तर यस्तो अवस्था सामान्य व्यक्तिमा भने नआउने उनको भनाइ छ ।
उसो त एपेन्डेसाइटिस ४ देखि ३० वर्ष समूहका व्यक्तिमा बढी देखिने भए पनि उमेर पाको हुँदै जाँदा यसको समस्या हुने सम्भावना घट्दै जान्छ । पेट रोग विशेषज्ञ डा.राहुल पाठक एपेन्डेसाइटिसको पहिचान गर्नु कठिन रहेको औंल्याउँदै भन्छन्, ‘एउटै परीक्षण र लक्षणले यो समस्या पहिचान गर्न कठिन हुन्छ । समस्या देखिए यसको उपचार शल्यचिकित्सा नै हो ।’
सामान्य अवस्थामा एपेन्डेसाइटिस हुँदा सुरुमा पेटको बीच भागमा बारम्बार दुखाइको अनुभव हुन्छ । त्यसको केही समयमा पेटको दाहिने तल्लो भाग अर्थात् एपेन्डिक्स भएको ठाउँमा दुख्न थाल्ने उनी बताउँछन् । एपेन्डिक्स भएको ठाउँमा थिच्दा, हिँड्दा, खोक्दा दुखाइ बढी हुने उनको भनाइ छ । पश्चिमा खानपानमा एपेन्डेसाइटिसको समस्या बढी हुने गरेको अध्ययनले देखाएको छ भने त्यहाँको दाँजोमा हाम्रो मुलुकमा यो समस्या कम देखिने गरिएको समेत डा.पाठक बताउँछन् । उसो त एपेन्डेसाइटिसको शत प्रतिशत पहिचान गर्न ‘सीटी स्क्यान’ एक मात्र विकल्प हो ।
राम्रो गुणस्तरको नयाँ अल्ट्रासाउन्ड मेसिन र यसलाई चलाउने दक्ष चिकित्सकले करिब ७० प्रतिशत रोग पहिचान गर्न सक्छन् । तर ३० प्रतिशत रोग पहिचान गर्न नसकिने औंल्याउँदै डा. शर्मा भन्छन्, ‘शतप्रतिशत रोग पहिचान गर्ने प्रायः सीटी स्क्यानबाट नै हो ।’ शतप्रतिशत रोग पहिचानमा समस्या भएकै कारण हाल एपेन्डेसाइटिसको आशंकामा पेटलाई चिर्दा दुई दशकअघिसम्म मुलुकमा एपेन्डेसाइटिस हुँदा ‘सेप्सिस’ भएर वा समयमै रोग पहिचान नभएर गलत उपचारले ज्यान जाने डर हुन्थ्यो । तर हाल स्थिति फेरिएको छ । ठूला स्वास्थ्य केन्द्रमा करिब ९० प्रतिशतसम्म यसको शल्यक्रिया ल्यापरोस्कोपिक विधि (पेट नखोली अर्थात् प्वाल पारेर) बाट समेत डा. शर्मा बताउँछन् ।
आफैं निको हुन्छन् ६० प्रतिशत
एपेन्डेसाइटिसका सबै समस्या चिन्ताजनक हुँदैनन् । समग्र एपेन्डेसाइटिसको समस्यामध्ये करिब ४० प्रतिशत मात्र चिन्ता गर्नुपर्ने खालका हुन्छन् ।
६० प्रतिशत समस्या भने आफैं निको हुन्छन् । ‘करिब ४० प्रतिशत एपेन्डेसाइटिसको समस्यामा संक्रमण फैलिएर शल्यक्रिया बाहेकको विकल्प हुँदैन,’ डा. शर्मा भन्छन्, ‘बाँकीमा एन्टिबायोटिकको माध्यमले सुकाउनेसमेत गरिन्छ ।’
के हो एपेन्डिक्स ?
‘एपेन्डिक्स’ आन्द्राको एउटा टुक्रा हो, जसलाई चिकित्सा भाषामा एपेन्डेसाइटिस भनिन्छ । एपेन्डिक्स पातलो र २–३ इन्च सानो ट्युबजस्तै हुन्छ । यसको एक भाग बन्द हुन्छ भने अर्को भाग खुला हुन्छ । यो आन्द्रामा ‘दिसा’, बन्ने ठाउँसँग जोडिएको हुन्छ । यही एपेन्डिक्समा हामीले अनुभव गर्ने दुखाइसहितको सुन्नाइलाई ‘एपेन्डिसाइटिस’ भनिन्छ ।
एपेन्डिक्सको शल्यक्रियालाई ‘एपेन्डेक्टोमी’ भनिन्छ । यसमा पेटमा सानो प्वाल पारेर लेपरोस्कोपिक शल्यक्रियाको माध्यमले वा पेटमा लामो चिरा बनाएरसमेत शल्यक्रिया गरिन्छ ।
लैपरोस्कोपिक शल्यक्रियामा घाउ ठूलो नहुने भएकाले बिरामी चाँडै निको हुनुको साथै अस्पतालमा समेत एक दिनभन्दा बढी बस्नु नपर्ने डा. शर्मा बताउँछन् । तर एपेन्डेसाइटिस फुटेको अवस्थामा वा अन्य कारणले ‘पेरिटोनाइटिस (पेटको संक्रमण) भए पेट चिरेरै शल्यक्रिया गर्नुपर्छ ।
लक्षण
एपेन्डेसाइटिस भएको खण्डमा हाम्रो नाइटोको छेउछाउमा तीव्र दुखाइ हुन्छ । यो दुखाइ पेटको दाहिने भागदेखि तल हुन्छ । उक्त स्थानमा छुँदासमेत बिरामीले तीव्र दुखाइ अनुभव गर्छन् ।
यसको दुखाइ सुत्दा, सामान्य रूपमा पल्टँदा वा बस्दा पनि निरन्तर रहिरहन्छ । अन्य कुनै शारीरिक क्रियाकलाप गर्दा दुखाइ झन् बढ्छ । यतिसम्म कि हामीले खोक्दा वा हाच्छिउँ गर्दासमेत पेटमा तीव्र दुखाइको अनुभूति हुन्छ । योसँगै वाक्वाकी लाग्नु, भोक कम लाग्नु, वान्ता हुनु वा पखाला लाग्नु आदिसमेत यसका लक्ष्ण हुन् । त्यसका साथै बिरामीको नाडीको चाल बढ्नुका साथै ज्वरो पनि आउन सक्छ ।
उपचार
एपेन्डेसाइटिसको लक्षण देखिएपछि समुचित उपचार नहुँदा हाम्रो पेटको दाहिने भागमा डल्लो बन्न सक्छ वा एपेन्डेसाइटिस फुट्न सक्छ । डल्लो बन्दा तीन–चार सातामा सामान्यसमेत बन्न सक्छ । यस्तो डल्लो भएर आउनेलाई एन्टिबायोटिक दिएर सुकाउने डा. पाठक बताउँछन् ।
‘सहरी क्षेत्रमा बस्ने यस्ता डल्लो भएर आउनेहरूलाई हामी तुरुन्त शल्यक्रिया गर्दैनौं, एन्टिबायोटिक दिएर केही समय कुछौं,’ डा. शर्माको अनुभव छ । तर दुर्गम क्षेत्रका बिरामीहरू यस्तै समस्या लिएर आउँदा डाक्टरले भविष्यमा कुनै जोखिम नलिन शल्यक्रिया गरेर निकाल्ने गरेका छन् ।
‘एपेन्डेसाइटिस एकपटक सुकेपछि पुनः दोहरिने सम्भावना १७ प्रतिशत मात्र हुन्छ,’ डा. शर्मा भन्छन् । उनका अनुसार यसैले सहरी क्षेत्रकालाई डल्लो भएर आउँदा एपेन्डेसाइटिसको एन्टिबायोटिकको माध्यमले उपचार गर्न सकिन्छ । एपेन्डेसाइटिस फुट्ने स्थितिमा पेटको झिल्लीसमेत संक्रमित हुने गम्भीर स्थिति आउन सक्छ ।

स्वास्थ्य

ढाड दुख्ने समस्या हटाउन योग

- कान्तिपुर संवाददाता

अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार ‘लोअर व्याक पेन’, र निद्रा न आउने समस्यासँग जुधिरहेकाहरूका लागि योग गर्नु धेरै फाइदाकारी हुन्छ ।
जर्नल अफ इन्टरनल मेडिसिनमा यो अध्ययन प्रकाशित छ । बोस्टन मेडिकल सेन्टरले ब्याक पेनको उपचारका लागि योग र साइकोथेरापीको प्रभावबारे अध्ययन गरेका हुन् ।
अनुसन्धानअनुसार अनिद्राको समस्या र ब्याक पेनको उपचारमा साइकोथेरापी र योग धेरै सहयोगी सावित हुन सक्छ । यसको प्रभावले गर्दा बिरामीलाई धेरै कम मात्रामा दुखाइनाशक औषधिको आवश्यकता हुन्छ । एक अध्ययनमा बताइएअनुसार दीर्घकालीन ब्याक पेनले जुधिरेहेका ५९ प्रतिशत बिरामीलाई अनिद्राको समस्यासमेत हुन्छ । थुप्रै बिरामी यो समयमा ‘इन्सोम्निया डिजअर्डर’ ले पीडित हुन्छन् ।
उसो त इम्सोम्निया (अनिद्रा) र ब्याक पेनको लागि पर्याप्त उचित औषधि उपलब्ध भए पनि यसको बढी र लामो समयसम्म उपयोगले बिरामीमा यो औषधिको साइड इफेक्ट देखिन थाल्छ ।
यो साइड इफेक्टबाट बच्न सबैभन्दा उपयुक्त र सजिलो उपाय प्रशिक्षकको रेखदेखमा बिरामीलाई योग गराउनुरहेको छ । यसले गर्दा बिरामीहरू दुखाइ र अनिद्राबाट मुक्ति पाउनुका साथै औषधिको साइड इफेक्टबाट समेत बच्न सकिन्छ ।

स्वास्थ्य

औषधीय गुणयुक्त तुलसी

- कान्तिपुर संवाददाता

सांस्कृतिक महत्त्व बोकेको तुलसी मुलुकको अधिकांश आँगनमा पाइन्छ । यो उच्च स्तरीय औषधिसमेत हो । अझै गाउँ घरमा रुघाखोकी हुनासाथ, आमा, हजुरआमाहरूले बच्चादेखि ठूलाबडासम्मलाई तुलसीको पात खुवाउने चलन कायमै छ ।
पूर्वीय धर्मग्रन्थ वेदमा समेत तुलसीको बिरुवाको पवित्रतासँगै औषधीय गुणको वर्णन गरिएको छ । झाडीको रूपमा रहने तुलसीको बोट एकदेखि तीन फिटसम्म अग्लो पाइन्छ । यसको बिरुवा पवित्र मानिन्छ । तुलसी थुप्रै जातका भए पनि सबै फायदाकारी नै छन् । गुण धर्मअनुसार कालो तुलसीलाई राम्रो मानिन्छ । एलोपेथिक, होमियोपेथिक र युनानी औषधिहरूमा समेत तुलसीको कुनै न कुनै रूपमा उपयोग गरिन्छ ।
आयुर्वेदको अनुसार तुलसी शरीर, मन र आत्माको पीडा हरण गर्ने मानिन्छ । यसमा जीवाणुनाशक मूत्रवर्धक गुणसमेत पाइन्छ । जसले संक्रमण हटाउनुका साथै तनाव र अन्य रोगविरुद्घ प्राकृतिक प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
आयुर्वेद चिकित्सकका अनुसार तुलसीको नियमित सेवनले स्वाइनफ्लुलगायतका फोक्सोको संक्रमणसँग जुध्नसमेत सहयोगी मानिन्छ । तुलसीले रोग प्रतिरोधक क्षमता बढाउने मान्यता छ । यसलाई शक्तिवर्धक औषधिका रूपमा समेत उपयोग गरिन्छ । यसले कार्यक्षमतामा मात्र वृद्घि नभई शीघ्र पतनमा समेत फाइदाकारी रहने मान्यता छ ।
युनानी चिकित्सा पद्घतिअनुसार तुलसीमा रोग निको पार्ने भरमग्दुर क्षमता छ । यसले रुघाखोकीको प्रभावलाई कम गर्छ । ज्वरो कम गर्नुका साथै यो मुटुको रक्तनली, कलेजो, फोक्सो, उच्च रक्तचापसँगै चिनीको मात्रा कम गर्नसमेत सहयोगी मानिन्छ । तुलसीको काँडाले रगत सफा
गर्नुका साथै कोलेस्ट्रोलको स्तरमा समेत कमी ल्याउँछ ।
भनिन्छ, तुलसीको नियमित सेवनले शरीरमा उर्जाको प्रवाह नियन्त्रित रहन्छ र उमेर बढ्छ । यति मात्र नभई तुलसीमा हुने एन्टिअक्सिडेन्टले शरीरको मृत कोषिकालाई ठीक बनाउन सघाउँछ ।
तुलसीमा अनेक जीव–सक्रिय रसायन पाइन्छ । यसमा ट्रैनिन, सैवोनिन, ग्लाइकोसाइड र एल्केलाइडस प्रमुख छन् । हालसम्म तुलसीमा पाइने रसायनको पूर्ण विश्लेषण हुन सकेको छैन । यसमा पाइने पहेँलो वास्पशील तेलको मात्रा संगठन, स्थान र समयका अनुसार परिवर्तित हुने गरेको छ । यसमा सामान्यतः ०.१ देखि ०.३ प्रतिशतसम्म तेल पाइन्छ । ‘बेल्थ अफ इन्डिया’ का अनुसार तुलसीको तेलमा करिब ७१ प्रतिशत युजिनाल, २० प्रतिशत युजिनाल मिथाइल इथर तथा ३ प्रतिशत कार्बाकोल हुन्छ ।
हरियो तुलसीमा कालोको तुलनामा केही बढी तेल हुनुका साथै सापेक्षित धनत्वसमेत बढी हुन्छ । यसको पातमा ८३ मिलिग्राम प्रतिशत भिटामिन सी एवं २.५ मिलिग्राम प्रतिशत कैरेटिन हुन्छ । तुलसीको बीउमा भने पहेँलो तेल करिब १८ प्रतिशत मात्रामा पाइन्छ ।
आधुनिक अनुसन्धानअनुसार तुलसीको बोटले वातावरणलाई समेत स्वस्थ पार्छ । यसको बोटले वातावरणलाई सफा गर्छ । यसका साथै तुलसीमा भएको युजेनोल नामक अर्गानिक यौगिकले लामखुट्टे, झिँगालगायत कीरा/फट्यांग्रा भगाउँछ । तुलसीको बोटले त्यो स्थान विशेषमा अक्सिजनको मात्रा बढाउँछ ।
त्यसैगरी, यो प्राकृतिक वायु शुद्घ गर्ने बोट हो । यो बोट दिनहुँ करिब १/२ घन्टासम्म अक्सिजन छोड्छ । तुलसीको बिरुवाले निरन्तर अक्सिजन फ्याल्नुको साथै कार्बन मोनोअक्साइड, कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइडलगायत विषालु ग्यासलाई समेत सोस्छ । यति मात्र नभई तुलसीको बास्नाले घर, आँगनमा मिठो र ताजा सुगन्ध मिल्छ । जसका कारण मानिसको खराब मुडसमेत परिवर्तन गर्ने विश्वास छ ।

स्वास्थ्य

मुटुको साथी ‘ब्याक्टेरिया’

- कान्तिपुर संवाददाता

अनुसन्धानकर्ताहरूको अनुसार मानिसको आन्द्रामा पाइने जीवाणुको प्रजाति ‘अक्करमेसिया म्युसिनिफिला’ लाई पास्चराइज्ड गरेर उपयोग गर्दा विभिन्न मुटु रोगको जोखिमको कारकमा बढी सुरक्षा प्रदान गर्छ ।
३२ जनामा गरिएको अध्ययन ‘नेचर मेडिसिन’ मा प्रकाशित छ । अनुसन्धानकर्ताले मोटो सहभागीलाई ‘अक्करमेसिया म्युसिनिफिला’ दिए । यी सबैमा टाइप–२ डाइबिटिज र मेटाबोलिक सिन्ड्रोम देखियो अर्थात् यिनीहरूमा मुटुको रोगसँग सम्बन्धित जोखिमको कारक थिए ।

Page 10
समाचार

त्रिविको बजेट २३ अर्ब पाँच करोड

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले ‘त्रिवि सेन्टर अफ एकेडेमिक एक्सिलेन्सी’ निर्माण गर्न १५ बुँदे कार्ययोजना पारित गराएका छन् । कार्ययोजनामा त्रिविको भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री विश्वविद्यालय, अनुसन्धान कार्य प्राथमिकता, निश्चित शैक्षिक पात्रो, परीक्षा प्रणालीमा सुधार तथा विकेन्द्रीकरणलगायत विषय छन् । गत कात्तिक १७ मा उपकुलपतिमा नियुक्त उनले शुक्रबार त्रिवि सभाको बैठकबाट आफ्नो कार्ययोजना पारित गराएका हुन् । त्रिविलाई बजारमुखी, स्वरोजगारमूलक तथा देशको आवश्यकताअनुसारको जनशक्ति उत्पादन थलो बनाउने उनको भनाइ छ । प्राध्यापकहरूको क्षमता अभिवृद्धि गरी पेसाप्रति उत्प्रेरणा जगाउने कामको थालनी गर्ने, आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसको प्रभावकारी नियमन, सरकार तथा उपभोक्तासँग समन्वय गर्दै पाठ्यक्रम परिमार्जन, उच्च शिक्षातर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजाने पनि योजनामा छ । त्रिविको सम्पत्ति पहिचान, नियमन, संरक्षण र संस्थागत हितमा अधिकतम उपयोग गर्ने, विद्यार्थीका निम्ति १० प्रतिशत छात्रवृत्ति कोटा कडाइसाथ कार्यान्वयन गर्ने, खेलकुद व्यवस्था गर्ने, त्रिवि आलुम्नाईलाई विश्वविद्यालयको हितमा प्रयोग गर्ने, सुशासनलाई जोड दिन तथा समयसापेक्ष त्रिवि ऐन, नियम, विनियम परिमार्जन तथा संशोधन गर्दै कानुनी रूपमा विश्वविद्यालयलाई सक्षम बनाइने उनले बताएका छन् ।
त्रिविको भिजन २०२०–३० लाई टेकेर व्यवस्थित बनाउने उपकुलपति बाँस्कोटाको दाबी छ । ‘त्रिविलाई हामीले परिकल्पना गरेअनुरूपको सेन्टर अफ एकेडेमिक एक्सिलेन्सीका रूपमा स्थापित गर्न सक्षम हुनेछौं,’ उनले भने । यसैबीच त्रिवि सभाले आव ०७६/७७ का लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजारको बजेट पारित गरेको छ । रजिस्ट्रार डिल्लीराम उप्रेतीद्वारा प्रस्तुत बजेटलाई सभाले सर्वसम्मत पारित गरेको हो । बजेटमा नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन र पुँजीगत खर्च गरी ८ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ छ ।
विकासतर्फ ६१ करोड ८५ लाख विनियोजन भएको छ, जसमा पुँजीगत खर्च ३ अर्ब ६४ करोड १८ लाख ५६ हजार र सञ्चालन खर्चतर्फ १९ अर्ब ४१ करोड ७० लाख १२ हजार विनियोजन गरिएको छ । जसमा विश्वविद्यालय अनुदान आयोगबाट १३ अर्ब ३ करोड ४३ लाख ६८ हजार अनुदान मागिएको छ । बाँकी त्रिविको आन्तरिक आम्दानीबाट बेहोर्ने बजेटमा उल्लेख छ ।

Page 11
अर्थ वाणिज्य

आयातित पाम तेलले बढायो निर्यात

४ महिने व्यापार तथ्यांक
अन्य मुलुकबाट पाम तेल नेपाल आयात गर्दा थोरै भन्सार लाग्छ । यहाँबाट भारत पठाउँदा भने भन्सार महसुल नलाग्ने गरेकाले निर्यात बढेको हो ।
- राजु चौधरी

(काठमाडौं) - व्यापारिक फाइदाका लागि पाम तेल तेस्रो मुलुकबाट आयात गरी फेरि त्यसैलाई प्रशोधन गरेर भारत निर्यात गर्ने क्रम बढेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार यसको निर्यात २३ प्रतिशतले वृद्धि भएको देखिएको छ । कात्तिकसम्मको कुल निर्यात ३६ अर्ब २७ करोड रुपैयाँमध्ये पाम तेल मात्रै ८ अर्ब ३६ करोड रुपैयाको निर्यात भएको छ । असोजसम्ममा ५ अर्ब ७५ करोडको पाम तेल निर्यात भएको थियो । एक महिनामै निर्यात २ अर्ब ६१ करोड रुपैयाँले बढ्दा समग्र निर्यातमा सुधार र व्यापार घाटामा समेत यसको प्रभाव परेको छ ।
भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार पाम भन्ने रूखबाट उत्पादन हुने वनस्पति तेलको कच्चा पदार्थ भारतमा अन्य मुलुकहरूले निर्यात गरे करिब ४० प्रतिशत भन्सार महसुल लाग्छ । ‘नेपालबाट निर्यात गर्दा महसुल लाग्दैन,’ उनले भने । नेपालमा अन्य मुलुकबाट आयात गर्दा गुणस्तरको आधारमा ५/७ प्रतिशतसम्म भन्सार लाग्छ । अन्य मुलुकबाट नेपाल आयात गर्दा थोरै भन्सार लाग्ने र फेरि भारत निर्यात गर्दा भन्सार महसुल नलाग्ने गरेकाले व्यापारीहरूले ट्रान्जिट बनाई प्रशोधन गरेर यो तेल निर्यात गरिरहेका हुन् ।
‘निर्यात बढ्ने मुख्य भूमिका पाम तेलले निर्वाह गरेको छ,’ घिमिरेले भने, ‘मलेसिया र इन्डोनेसियाबाट कच्चा पदार्थका रूपमा आयातित पाम तेल प्रशोधन भएर निर्यात हुन्छ ।’ प्रशोधित पाम तेल भारत निर्यात भइरहेको छ । भारतमा निर्यात गर्दा भारतले कृषि वस्तुमा सहुलियत दिएको छ । नेपाल सरकारले पनि निर्यात बढाउन सहुलियत दिएको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ महिनामा कुल ४ खर्ब ८६ अर्ब ५७ करोडको व्यापार भयो । जसमध्ये निर्यात व्यापार २३.९० प्रतिशत बढेको छ । आयात व्यापार ६.९२ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको ४ महिनामा २९ अर्ब २८ करोड रुपैयाँको निर्यात भएको पाम तेल अहिले ३६ अर्ब रुपैयाँ नाघेको छ । आयात ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँबाट झरेर ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँमा पुगेको छ । निर्यातमा सुधार राम्रो देखिए पनि आयातित कच्चा पदार्थ प्रशोधन गरेर निर्यात हुँदा सन्तोष मान्न नसकिने जानकारहरू बताउँछन् । ‘भारतको नीतिका कारण केही फाइदा देखिए पनि फेरबदलले मुलुकलाई कुनै दिन नोक्सान हुन्छ । निर्यात बढे पनि स्वदेशी उद्योगको क्षमता बढेको देखिँदैन,’ अर्थविद् पोषराज पाण्डेले भने, ‘यस्तो अवस्थामा निर्यात बढेर सन्तोष मान्न सकिँदैन ।’
उनले भन्सार महसुलको अन्तरले पाम तेल निर्यातमा केही फाइदा भएको बताए । दिगो निर्यात वृद्धिका लागि गुणस्तरीय स्वदेशी उत्पादनको वृद्धि, उद्योग उत्पादन क्षमतामा विस्तार हुन जरुरी रहेको बताए । तथ्यांकअनुसार दोस्रोमा धागो निर्यात भएको छ । २ अर्ब ७९ करोड रुपैयाँको धागो निर्यात भएको देखिन्छ । अघिल्लो ३ महिनामा २ अर्ब १९ करोड रुपैयाँको निर्यात भएको थियो । व्यवसायीका अनुसार धागोको माग बंगलादेशमा अत्यधिक छ । निर्यात अवरोधको समस्याले निर्यात बढाउन नसकेको धागो उत्पादक संघले जनाएको छ । तेस्रोमा क्रमशः उनी गलैंचा/कार्पेट २ अर्ब ६२ करोड रुपैयाँ, तयारी कपडा २ अर्ब १६ करोड, भटमासको तेल प्रशोधित २ अर्ब २ करोड रुपैयाँको निर्यात भएको छ । ४ महिनाको अवधिमा १ अर्ब ५४ करोड रुपैयाँको अलैंची, १ अर्ब ३० करोड रुपैयाँको फलफूलको जुस निर्यात भएको उल्लेख छ ।
आयातित वस्तुमध्ये पहिलो नम्बरमा डिजेल छ । सवारी साधनको मागसँगै डिजेलको खपत पनि बढेको छ । ३ महिनामा २० अर्ब १६ करोड रुपैयाँको आयात भएको डिजल ४ महिनाको अवधिमा २९ अर्ब २४ करोड रुपैयाँको आयात भएको छ । तयारी कपडा पनि उल्लेख्य रूपमा आयात भएको छ । पहिलो ३ महिनामा १० अर्ब ९० करोड रुपैयाँको आयात भएको तयारी कपडा ४ महिनाको अवधिमा १४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
यस्तै एमएस बिलेटको आयातमा १२ अर्ब ७० करोड, पेट्रोलमा १२ अर्ब ३७ करोड रुपैयाँ बाहिरिएको छ । अर्थविद् पाण्डेका अनुसार पछिल्लो महिना अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले पनि व्यापारमा सुधार देखिएको हो । विभागको तथ्यांकअनुसार एचआरसीटमा ९ अर्ब ७७ करोड, हवाईजहाज र हेलिकप्टरको सामानमा ९ अर्ब २१ करोड, एलपी ग्यासमा ८ अर्ब ९० करोड, मोबाइल/टेलिफोनमा ८ अर्ब ६२ करोड, मोटरसाइकल खरिदमा ८ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको विभागले जनाएको छ । ४ महिनाको अवधिमा सबैभन्दा बढी वीरगन्ज भन्सार नाकाबाट आयात/निर्यात भएको छ । वीरगन्जबाट १ खर्ब ५२ अर्ब १२ करोड रुपैयाँको आयात र १० अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको छ । दोस्रोमा क्रमशः भैरहवा भन्सार कार्यालयबाट ७६ अर्ब ८५ करोड रुपैयाँको आयात र ९५ करोड रुपैयाँको निर्यात भएको छ । ड्राइपोर्टबाट ५६ अर्ब ५ करोडको आयात र ८३ करोडको निर्यात भएको उल्लेख छ ।

अर्थ वाणिज्य

विज्ञ समूहलाई ब्युँत्याइने

- सुरेशराज न्यौपाने

(नयाँदिल्ली) - भारतको नयाँदिल्लीमा तीनदेखि चलेको बहुप्रतीक्षित पञ्चेश्वरसम्बन्धी बैठकमा परियोजना विस्तृत प्रतिवेदन (डीपीआर) चाँडो टुंगो लगाउन हाल निष्क्रिय रहेको विज्ञ समूहलाई ब्युँत्याउने सहमति भएको छ । त्यसको बैठक आगामी जनवरी १५ भित्र बोलाउने लगायतका दर्जनभन्दा बढी सहमति गरेर बैठक सकिएको हो ।
लामो समयदेखि अनिर्णीत डीपीआरलाई टुंगोमा पुर्‍याउन प्राविधिक सुझाव दिनका लागि गठित सचिवस्तरीय विज्ञ समूहको म्याद एक वर्षका (आगामी मार्च २०२०) सम्म थप्ने र त्यसको बैठक आगामी १५ जनवरी २०२० भित्र डाक्ने सहमतिसमेत गरेको छ । सन् २०१८ मा गठित विज्ञ समूहको दुई वर्षमा तीन वटा बैठक बसेको थियो । त्यसको म्याद मार्च २०१९ मा सकिएको थियो । ‘अब बस्ने विज्ञ समूहको बैठकले बाँकी मुद्दाहरूलाई पनि टुंगोमा पुर्‍याउने विश्वास छ,’ बैठकमा सहभागी जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले भने, ‘लामो समयदेखि निष्क्रिय रहेको विज्ञ समूहलाई पुनः सक्रिय बनाउन र चाँडो बैठक डाक्न सहमति भएको छ । त्यो निकै उपलब्धिपूर्ण हो ।’
सुरुको दुई दिन सहसचिवस्तरीय संयन्त्रको बैठक बसेको थियो । जसको नेतृत्व नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रवीण अर्यालले गरेका थिए । त्यही सहसचिवस्तरीय बैठकले टुंगो लगाएका विषयहरूलाई शुक्रबार बसेको परियोजनाको सञ्चालक समिति (गभर्निङ बडी) ले छलफलपछि टुंगोमा पुर्‍याएको हो । गभर्निङ बोर्डमा नेपाली पक्षको नेतृत्व मन्त्रालयका सचिव घिमिरेले र भारतीय पक्षको नेतृत्व भारतको जलस्रोत मन्त्रालयका सचिव यूपी सिंहले गरेका थिए । गभर्निङ बोर्डमा भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्य पनि सदस्य छन् ।
नेपाल र भारतबीच २०५२ सालमा सम्पन्न एकीकृत महाकाली सन्धिले ६ हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्न पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणको परिकल्पना गरेको थियो । उत्पादन हुने बिजुली र परियोजनाबाट निस्कने पानी बराबरी गर्ने सन्धिमा उल्लेख भए पनि सहमति जुट्न सकेको छैन । नेपाल र भारतबीच पञ्चेश्वरको डीपीआरमै विवाद कायम छ । पछिल्लो बैठकले डीपीआर चाडो टुंगोमा पुर्‍याउने सहमति गरेको हो ।
सुरुमा दुवै मुलुकले आआफ्नो हिसाबले डीपीआर टुंग्याउने सहमति गरेका थिए । दुवैलाई अध्ययन गरेर परियोजनाको डीपीआर टुंगोमा पुर्‍याउने कार्यादेश गभर्निङ बोर्ड (सञ्चालक समिति) लाई नै दिइएको थियो । बोर्डले त्यसको जिम्मा भारतको अन्तर्राष्ट्रिय कन्सल्टेन्ट कम्पनी वापकोसलाई दियो । वाकपोसले तयार पारेको डीपीआरमा नेपाल र भारतले आआफ्ना अडान राख्दै आएका छन् । वापकोसले तयार पारेको डीपीआरमा भएको तल्लो शारदाको पानीसम्बन्धी विषयलाई लिएर नेपालको असहमति रहेको छ । मस्यौदामा भारतले हाल उपभोग गरिरहेको तल्लो शारदाको पानीलाई यस परियोजनाको पानी बाँडफाँट गर्दा हिसाब नगर्ने उल्लेख छ ।

जब कि नेपालले भने तल्लो शारदा निकै तल रहेको र त्यसको पानीको उपभोगको विषयमा सन्धिमा केही उल्लेख नहुँदा त्यसको पानीलाई पनि हिसाब गरेर मात्र पानीको बराबर बाँडफाँट गरिनुपर्ने अडान राख्दै आएको छ ।
डीपीआरमा सहमति जुट्न नसकेपछि आवश्यक सल्लाह र सुझाव दिनका लागि विज्ञ समूहसमेत गठन गरिएको थियो । विज्ञ समूहमा नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव र भारतका तर्फबाट केन्द्रीय जलबोर्डका प्रमुख रहने व्यवस्था छ । तर, त्यो विज्ञ समूह पनि विगत करिब दुई वर्षदेखि निष्क्रिया थियो । अहिलेसम्म उक्त समूहका तीन वटा बैठक भए पनि कुनै ठोस निष्कर्षमा पुग्न सकेको छैन । सुरुमा वापकोसले तयार पारेको डीपीआरमा पनि दुवै पक्षबीच पाँच सयभन्दा बढी असहमतिका मुद्दा थिए । विज्ञ समूहका तीन वटा बैठकले ती असहमतिलाई सवा सयमा झारेका छन् । यो परियोजनालाई हेर्ने सबैभन्दा उच्च निकाय गभर्निङ बोर्डको बैठक २०१८ यता बसेको थिएन । दिल्लीमा दुई वर्षपछि गभर्निङ बोर्डको सातौं बैठक बसेको हो । लामो समयदेखि गभर्निङ बैठक नभएको हुँदा पछिल्लो बैठकले लामो समयदेखिको संवादहीनताको अवस्थालाई अन्त्य गरेको सचिव घिमिरेले बताए । ‘बैठकमा विज्ञ समूहलगायतको विषयमा टुंगोमा पुगिएको छ । अन्य प्रशासनिक निर्णयहरू पनि गरिएका छन् । त्योभन्दा पनि लामो समयदेखिको संवादहीनता अन्त्य भएको छ,’ उनले भने ।
बैठकले सन् २०१८ यताको प्राधिकरणको तीन वर्षका लागि २३.५ करोड रुपैयाँको बजेट पारित गरेको छ । परियोजनाको बजेटका लागि नेपाल र भारतको संयुक्त कोषबाट विनियोजन गर्ने व्यवस्था छ । बैठकले प्राधिकरणको लेखापरीक्षण चाँडो गर्ने समेत सहमति गरेको छ । प्राधिकरण गठन भएयता (सन् २०१५) देखि लेखापरीक्षण भएको थिएन । लेखा परीक्षण नहुँदा प्राधिकरणको खर्च बेरुजु देखिँदै आएको छ । यस विषयमा संसद्मा पनि कुरा उठेको थियो । नेपालले लेखापरीक्षण गर्न ताकेता गर्दै आए पनि भारतले चासो नदेखाउँदा यो विषय त्यत्तिकै थाँती रहेको थियो । गभर्निङ बोर्डको बैठकमा भारत सरकारले त्यसको प्रक्रिया सीएजीले लेखापरीक्षणको प्रक्रिया खुलाएर नेपाललाई पठाउने र त्यो नेपालबाट स्वीकृत भएपछि संयुक्त लेखापरीक्षण सुरु हुनेछ ।

Page 12
अर्थ वाणिज्य

सहकारीको ११ करोड हिनामिना

- मनोज पौडेल

(कपिलवस्तु) - कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थामा ११ करोड रुपैयाँभन्दा बढी हिनामिना गरिएको छ । हिनामिनाको खबर बाहिरिएसँगै सहकारीले सूचना प्रकाशित गरी कारोबार बन्द गरेको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत मुकुन्द बर्माले बचत र कर्जाको गरी ११ करोड रुपैयाँभन्दा बढी अपचलन भएको बताए ।
बचतको ८ करोड र कर्जातर्फ ३ करोड रुपैयाँको कुनै अभिलेख संस्थामा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।
चार महिनाअघि नै रकम हिनामिना भएको खुलेको थियो । पदाधिकारीले कर्मचारीसँग सोधपुछ गरेर हिसाब मिलान गर्ने प्रयास गरेका थिए । कतिपयले हिसाब मिलान गरिसकेका छन् । कार्यालय सहायक राजेशकुमार कान्दुले हिसाब मिलान गर्न अटेर गरेपछि घटना बाहिरिएको हो । सहकारी डुबाउँछु भन्दै कान्दुले घटना सार्वजनिक गरेका थिए । त्यसपछि रकम फिर्ता लिन बचतकर्ता सहकारी पुगेका थिए । कार्यालयमा थामी नसक्नु भीड लाग्यो । सहकारीले तरलता अभाव जनाउँदै रकम दिन नसक्ने जानकारी गरायो । सहकारीले नै पत्रकार सम्मेलन गरेर हिनामिनाको जानकारी गराएको थियो ।
०५२ मा स्थापना भएको सहकारीको लेखाको नियमअनुसार खातापाता व्यवस्थित थिएन । गत फागुनमा यसको कार्यकारी प्रमुखमा बर्मा नियुक्त भएपछि सहकारीका स्रेस्तामा कडाइ गर्न थाले ।
कडा अनुगमन र निरीक्षणपछि कर्मचारीले रकम हिनामिना गरिरहेको पत्ता लागेको सहकारीका अध्यक्ष रामेन्द्रसिंह रावलले बताए । कार्यालय सहायक
कान्दुले १ करोड ४ लाख ३२ हजार ७ सय १२ रुपैयाँ हिनामिना गरेको प्रमाण फेला परेको कार्यकारी अधिकृत बर्माले बताए ।
०७४ असार २१ देखि ०७५ माघ २५ सम्म ४ ठेलीको हिसाब गर्दा कान्दुले उक्त रकम हिनामिना गरेको देखिएको छ । ‘अन्य रकम संकलन गरेका ठेली र रजिस्ट्रर गायब पारिएका छन्,’ बर्माले भने, ‘त्यसको खोजी गरिरहेका छौं ।’ कान्दुले हिनामिना गरेको रकम बढ्न सक्ने सहकारीले जनाएको छ । गत आर्थिक वर्षसम्म कर्मचारीले संकलन र लगानी गर्ने ऋण रकमको बासलात र लेजरमा उठाउने गर्थे । कारोबारको भौचर तयार गर्थेनन् । लगानीकर्ताको खातामा रकम चढाइन्थ्यो । लेजरमा हिनामिना गरिएको रकम उल्लेख गरिएको थिएन । ‘वासलात र लेजर मिलाएर मात्र कारोबार गरिन्थ्यो,’ अधिकृत बर्माले भने, ‘त्यसकारण ठगी पत्ता लगाउन गाह्रो भयो ।’
०७१/७२ मा सहकारीमा नयाँ सफ्टवयेरबाट काम थालियो । पुराना काजगपत्रको अभिलेख नभएकाले अहिले समस्या परेको अध्यक्ष रावलले बताए । गत आवमा संकलन गरिएका र सहकारीमा जम्मा भएको रकममा ६३ लाख ६६ हजारभन्दा बढी फरक परेको छ । अन्य रकम ४ करोड बढीको फरक भेटिएको बर्माले बताए । सहकारीका बचत संकलक श्रवणकुमार गुप्ता (तेली) ले २७ लाख ६९ हजार २ सय हिनामिना गरेको आरोप लागेको छ । बचत संकलक सुन्दरकेशव गुप्ताले १९ लाख ५ हजार र कमलेश बारीले ४ लाख ८२ हजार हिनामिनामा गरेको सहकारीले आरोप लगाएको छ ।
श्रवणले १० लाख ११ हजार नगद जम्मा गरेको र बाँकी रकम १७ लाख ५० हजार ऋण देखाएर हिसाब मिलान गरेका छन् । संकलक सुन्दरकेशव गुप्ताले ६ लाख ५५ हजार नगद दाखिला गरेका छन् । १२ लाख ५० हजार ऋण देखाएर हिसाब मिलान गरिएको सहकारीको स्रेस्तामा उल्लेख छ । सहकारीमा निक्षेप संकलन २२/२३ करोड रुपैयाँ छ । ‘सहकारीसँग नगद र अन्य सम्पत्ति गरेर २५/२६ करोड रुपैयाँ पुँजी रहेको देखिन्छ,’ अध्यक्ष रावलले भने, ‘तर, कति हिनामिना भयो यकिन गर्न समय लाग्छ ।’ यसैबीच रकम हिनामिनाका मुख्य आरोपी कान्दु पक्राउ परेका छन् । सहकारीका सेयर सदस्यले बुधबार जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई तौलिहवा बजारबाट पक्राउ गरेको हो । अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

अर्थ वाणिज्य

तिलिचो उक्लिँदै पर्यटक

सडकको सुविधाले यात्रा सहज
- आश गुरुङ
मनाङको मनाङङिस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो ताल । यो ताल समुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित छ । तस्बिर ः कान्तिपुर 

(लमजुङ) - केही वर्षअघिसम्म तिलिचो (४,९१९ मिटर) सम्म जान निकै सकसको सामना गर्नुपर्थ्यो । मनाङमा सडक पुगेको थिएन । लमजुङको बेंसीसहरबाट १० दिनमा हिँडेर तिलिचो पुगिन्थ्यो । करिब ६ वर्षअघि चामेसम्म जिप चल्यो । ४ वर्षअघि माथिल्लो मनाङसम्मै पुग्यो । खाङसारसम्म जिप चल्न थालेको ३ वर्ष भयो । सडकको सहज पहुँचले अहिले तिलिचोसम्म पुग्ने पर्यटक बढेका छन् ।
पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार माथिल्लो मनाङ र खाङसारसम्मै मोटरबाटो बनेपछि तिलिचो उक्लने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । ‘कोही जिप रिजर्भ गरेर आउँछन् । कोही बाइकमै आउँछन्,’ उनले भने, ‘पहिले बाह्य पर्यटक जाने तिलिचोमा पछिल्लो समय नेपाली पर्यटक बढी मात्रामा देखिन्छन् ।’
पर्यटन व्यवसायीका अनुसार मनाङका प्रायः होटल पर्यटकले भरिभराउ छन् । ‘यो पर्यटकीय सिजन हो । विदेशी पर्यटक आगमनको संख्या उल्लेख्य छ । नेपालीको संख्या पनि उत्तिकै छ,’ विनोदले भने । उनका अनुसार नेपाली पर्यटक धेरै मात्रामा तिलिचो जान रुचाउँछन् । ५ देखि १० प्रतिशत मात्रै थोराङ्ला (५,४१६ मि.) भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै जाने गरेका छन् ।
यो बेला मौसम सफा हुने भएकाले धेरैजना तिलिचो जाने सपना बुन्छन् । मर्स्याङ्दी गाउँपालिका–३ खुदीका ऋषिराम बस्नेतले तिलिचोमा खुलेको मौसमले निकै प्रभावित र आनन्दित तुल्याएको बताए । ‘म दुबईमा छँदै तिलिचो जाने मन थियो । मौसम खुलेपछि तिलिचो पुगें,’ उनले भने । खुदीबाट चामे–खाङसार, बेसक्याम्प हुँदै तिलिचो पुगेको उनको पाँच जनाको टोली घर फर्किंदा ५ दिन लाग्यो । ‘पहिले एकतर्फी १० दिन लाग्ने तिलिचो अहिले ५ दिनमै गएर फर्किन भ्याइने रहेछ,’ उनले भने ।
बेंसीसहर नगरपालिका–२ चिसापानीका हिरासिंह गुरुङका अनुसार तिलिचो जाँदा साथी र औषधी अत्यावश्यक छ । ‘लेक लागेर बिरामी भइहाले समस्या हुन सक्छ । लेक चढ्नुअघि पूर्वतयारी गर्नुपर्छ,’ उनले भने । बेसक्याम्पमा २ होटल छन् । कोही टेन्ट टाँगेर पनि बस्छन् । पर्यटक धेरै भएका बेला डाइनिङमा समेत बस्न बाध्य भएको होटल व्यवसायी बताउँछन् ।
मोटरबाटो पुगेसँगै निजी सवारी लिएर पर्यटक खाङसार पुग्ने गरेका छन् । खाङसारबाट भने पैदल हिँड्नुपर्छ । मनाङ ङिस्याङ–९ का वडाध्यक्ष रिन्जेनदोर्जे गुरुङले विदेशीभन्दा स्वदेशी पर्यटक बढी आउने गरेको बताए । दैनिक २ सय बढी पर्यटक आएको अनुमान उनले गरे ।
गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार विदेशी पर्यटक पहिले पनि हिँडेरै मनाङ आउँथे । ‘विदेशी त हिँडेर पनि आउँथे । सडक बनेपछि स्वदेशी पर्यटक बढी आउने गरेका छन्,’ उनले भने ।
एक्याप भ्राका चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गमा दैनिक २ सय ५० भन्दा बढी विदेशी पर्यटक आउने गरेका छन् । नेपालीको भने रेकर्ड राखिएको छैन । स्थानीयका अनुसार तिलिचो संसारमै चलेको नाम र उच्च स्थानमा भएर पनि पर्यटक आउन रुचि राख्छन् । एक्याप संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार चारैतिर देखिने गरी तिलिचो, नीलगिरि, खाङ्सार, मुक्तिनाथलगायत हिमाल छन् ।

अर्थ वाणिज्य

विदेशबाट फर्केर व्यवसाय

- नुमा थाम्सुहाङ

(काठमाडौं) - अर्घाखाँचीका चन्द्र राई ५ वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किए । विदेश बसाइले परिवारको खर्च सामान्य रूपमा चल्थ्यो नै तर आफ्नो शरीरमा बल रहेसम्म मात्र त्यहाँ कमाइ गर्न सकिने सोच पलाएपछि उनी स्वदेशमै व्यावसायिक तालिम लिएर काम गर्ने योजना बुन्दै छन् ।
राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले १५ दिने बेकरी तालिमका साथै फेसन डिजाइन, सिलाइकटाइ, हाते इम्ब्रोइडरी, प्लम्बिङ, मोबाइल मर्मत, हाउस वायरिङ, खेलौना बनाउनेलगायत तालिम सञ्चालन गरिरहेको छ । प्रशिक्षण केन्द्रमा १३ जनाले बेकरीसम्बन्धी आधारभूत तालिम लिइरहेका छन् । तीन दिनदेखि प्रशिक्षण केन्द्रमा तालिम लिइरहेका चन्द्र भन्छन्, ‘विदेश बसेर पनि कमाइ राम्रो भएन, नेपालै फर्केर आफ्नै व्यवसाय गर्ने सोच आयो । त्यसैले तालिम लिएर आफ्नै व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न मन छ ।’ केन्द्रले निःशुल्क प्रदान गर्ने तालिमबाट फाइदा लिन सकिने उनको भनाइ छ । तालिमपश्चात् केही गर्न सक्ने क्षमता आफूले पनि राख्नुपर्ने तर्क उनको छ । ‘मलाई बेकरी परिकारसम्बन्धी पहिलेदेखि नै रुचि थियो, अहिले बजारमा यसको माग पनि छ,’ बेकरी तालिम लिनुको कारण खुलाउँदै उनले भने, ‘यहाँ हामी निःशुल्क बेकरी तालिम लिन्छौं, बाहिर यसैको ५०/६० हजार रुपैयाँसम्म लिन्छन् । त्यसैले यसको फाइदा हामीले लिन सक्नुपर्छ ।’
प्रशिक्षण केन्द्रले मखमलको जुत्ता सिलाइबुनाइसम्बन्धी २ महिनाको तालिम सञ्चालन गरिरहेको छ । त्यसमा पनि १६ जना महिलाले तालिम लिइरहेका छन् । त्यसमध्येकै झापा मेचीनगरकी गृहिणी पूजन मिश्रले सफल महिला उद्यमी बन्न प्रशिक्षण केन्द्रमा आएको बताइन् । ‘अहिले मखमलका जुत्ता बिहेका लागि फेसनजस्तै बनेको छ,’ उनी भन्छिन्, ‘यसैसम्बन्धी तालिम लिएर आफ्नै उद्यम सञ्चालन गरेर महिला उद्यमी बन्ने चाहना छ ।’
कोलापुरी, ढाकर, घुमरु, हवाई, पाकिस्तानी र ढाकाको जुत्ताको सिलाइ तथा बुनाइ गरिरहेको उनले बताइन् । तालिम सकिएपछि प्रशिक्षण केन्द्रबाटै उद्यमशीलता विकाससम्बन्धी साता दिनको प्रशिक्षण दिइने भएकाले उद्यमी बन्नका लागि सबै जानकारीले सहज हुन सक्ने उनको भनाइ छ । ‘प्रशिक्षण केन्द्रबाट तालिम लिइसकेपछि यहाँबाट पाइएको प्रमाणपत्रले सरकारले हामीलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले थपिन् । प्रशिक्षण केन्द्रको काम भनेको तालिम र प्रमाणपत्र प्रदान गर्ने रहेको प्रशिक्षक खेमबहादुर कार्कीले बताए । ‘हामीले सीप सिकाउने र यहाँबाट निर्देशन दिने काम गर्छौं,’ उनले भने, ‘यहाँ धेरैले तालिम लिएर गइसकेका छन्, ती सबै व्यवसायी भएर काम गर्न सके वा सकेनन् त्यो तालिम लिनेमा भर पर्छ ।’

अर्थ वाणिज्य

इनबारको उपाध्यक्षमा नेपाल

- कान्तिपुर संवाददाता

बेइजिङ (कास)– अन्तर्राष्ट्रिय बाँस तथा निगालो संगठन (इनबार) को उपाध्यक्षमा नेपाल चयन भएको छ । शुक्रबार बेइजिङमा सम्पन्न इनबारको ११ औं परिषद्ले सन् २०१९ देखि २०२१ सम्मका लागि नेपाललाई सर्वसम्मतिले उपाध्यक्ष मुलुकमा चयन गरेको हो । विश्वका ४६ मुलुक सम्मिलित इनबारको अध्यक्षमा अघिल्लो कार्यकालमा उपाध्यक्ष मुलुक रहेको क्यामरुन छनोट भएको छ ।
इनबारको परिषद् बैठकमा नेपालका तर्फबाट राजदूत लीलामणि पौड्यालले इनबारको रणनीति सन् २०१५ देखि २०३० सम्मको लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गरिरहेको जानकारी दिए । इनबारले बाँस तथा निगालोमार्फत वातावरण संरक्षण, जनजीविका, दिगो विकासमा सन् १९९७ देखि काम गर्दै आएको छ । मानव जीवनमा बाँसको उपयोगिता धेरै रहेकाले नेपालले पनि बाँसजन्य उत्पादनमा जोड दिएको छ ।
नेपाल सरकारले राष्ट्रिय वृक्षरोपण अभियान, बाँस तथा निगालो रणनीति, वन विकास, वातावरण तथा कृषि परियोजनालगायतमा निरन्तर सक्रियता जनाएको कुरा परिषद् बैठकमा जानकारी दिइएको थियो । इक्वेडरका कृषि तथा जनजीविकामन्त्री जाभिएर लाजोले बैठकको अध्यक्षता गरेका थिए ।

अर्थ वाणिज्य

मेगालाई 'बैंक अफ दि इयर'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मेगा बैंकले ‘बैंक अफ दि इयर २०१९’ सम्मान प्राप्त गरेको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ ले सन् २०१९ का लागि नेपालबाट मेगा बैंकलाई सम्मान गरेको हो । लन्डनमा बिहीबार आयोजित एक समारोहका बीच बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उक्त सम्मान ग्रहण गरेका थिए । ‘दि बैंकर’ ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका १ हजारभन्दा बढी बैंकहरूमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी ‘बैंक अफ दि इयर’ पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्छ ।

अर्थ वाणिज्य

माछापुच्छ्रे मास्टरसँग आबद्ध

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– माछापुच्छ्रे बैंक मास्टर कार्डसँग आबद्ध भएको छ । बैंकका सम्पूर्ण एटीएम तथा प्वाइन्ट अफ सेल्समा मास्टर कार्ड स्वीकार गर्न बैंक मास्टर कार्डसँग आबद्ध भएको हो । नेपाल भ्रमणमा आउने विदेशी पर्यटक तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकको सुविधालाई लिएर बैंक र मास्टर कार्डबीच सहकार्य गरेको बताएको छ ।

अर्थ वाणिज्य

सिभिल–हेल्भेटास स्विस सहकार्य

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सिभिल बैंक र हेल्भेटास स्विस इन्टरकर्पोरेसन नेपालबीच कृषि व्यवसायलाई आधुनिकीकरण तथा बजारीकरण गर्ने विषयमा सम्झौता भएको छ । प्रदेश २ र कर्णाली प्रदेशभित्रका वित्तीय पहुँच नपुगेका स्थानीय निकायमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्यका साथ बैंक र हेल्भेटासले सहकार्य गरेको बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र हेल्भेटासका नेपालका तर्फबाट राष्ट्रिय निर्देशक भरतकुमार पोखरेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

अर्थ वाणिज्य

एनसेलको बोनस डेटा योजना

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनसेल प्रालिले प्रिपेड ग्राहकका लागि बोनस डेटा योजना ल्याएको छ । जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन् । यो योजना शुक्रबारदेखि लागू भएको छ । मेरो प्लान सुचारु गरेका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन् र प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आइफ्लिक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवा प्रयोग गर्ने जनाइएको छ ।

Page 13
समाचार

वडाध्यक्षको निधन

- कान्तिपुर संवाददाता

संखुवासभा (कास)– चैनपुर नगरपालिका–२ का वडाध्यक्ष काजी शेर्पाको निधन भएको छ । नगर प्रमुख भरत खत्रीका अनुसार ४९ वर्षीय वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा निधन भएको हो । क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिनादेखि उपचाररत थिए । शिक्षकको जागिरबाट अवकाश लिएर उनले साविक एमालेबाट चुनावमा भाग लिएका थिए । मयुममै उनको शुक्रबार अन्त्येष्टि गरिएको छ ।

Page 14
१३ औं दक्षिण एसियाली खेलवुद

नेपाल समूह चरणबाटै बाहिर

- कान्तिपुर संवाददाता
राखेप कभर्डहलमा शुक्रबार नेपाली खेलाडी (रातो) को स्पाइक रोक्दै भारतीय खेलाडी । नेपालले भारतसँगको उक्त खेल सोझो सेटमा गुमाएको थियो ।तस्बिर ः इलिट जोशी/कान्तिपुर

(काठमाडौं) - समूहको आफ्नो दोस्रो खेलमा शुक्रबार भारतसँग पराजित भएपछि नेपाली पुरुष भलिबल टोली १३ औं दक्षिण एसियाली खेलकुदबाट बाहिरिएको छ । नेपालले ३–० को सोझो सेटमा पराजित भयो । समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा बंगलादेशसँग ३–२ को सेटमा खेल
हारेको थियो ।
सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको नेपालले सागअघि भारतीय टोलीसँग उसकै भूमिमा अभ्यास गरेको थियो । तीन मैत्रीपूर्ण खेलमा नेपालले एक सेट जितेको थियो । अरु सेटमा कडा चुनौती दिएको थियो । प्रतियोगितामा भने भारत एकपक्षीय हाबी भयो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा घरेलु टोलीले कुनै पनि सेटमा चुनौती दिन सकेन । नेपालले २५–१५, २५–१२, २५–१६ ले खेल गुमायो ।
खेलपछि पत्रकार सम्मेलनमा नेपाली टोलीका उपकप्तान कुलबहादुर थापाले भावनात्मक तर्क गरे । उनले भारतजस्ता बलिया टिमविरुद्ध प्रतिस्पर्धाका लागि योग्य बनाउन भलिबलमा दीर्घकालीन लगानी थप्नुपर्ने र आफूभन्दा बलिया टोलीसँग पर्याप्त खेल अनुभवको व्यवस्था मिलाउनुपर्ने बताए ।
‘हामीलाई सरकारबाट पनि राम्रो लगानी छैन । प्रतियोगिता खेल्न जर्सीका लागि प्रायोजक खोज्नुपर्ने लज्जास्पद अवस्थामा हामी छौं अनि भारतलाई हराओस् भन्ने कामना पनि गर्छौं,’ प्रतियोगितामा कोर्टमा उत्रन नपाएका उपकप्तान कुलबहादुरले प्रश्न गरे, ‘भारतजस्तो टिमलाई पराजित गर्ने सामर्थ्य जुटाउन त्यहीअनुसार लगानी खोइ ?’
प्रतियोगिताका लागि नेपाली टिमलाई टिपटपले जर्सी, ट्रयाकसुट तथा भलिबल संघ जापान शाखाका अध्यक्ष नवीन गुरुङले किट ब्याग प्रायोजन गरेका थिए ।
पर्याप्त सुविधा र खेल अनुभव भएमा अबको ४–५ वर्षसम्ममा नेपालले भारतलाई हराउन सक्ने दाबी कुलबहादुरको छ । ‘हामीले हामीभन्दा बलिया टोलीसँग नियमित खेल्न पाएका छैनौं । ४० वर्षपछि एसियाली खेलकुदमा गत वर्ष खेलेका हौं । नत्र सेन्ट्रल जोन र सागमात्र,’ उनले थपे, ‘हामीले हाम्रो भविष्यबारे चिन्ता नगरी खेल्ने वातावरण भयो र भलिबलमा सरकारको लगानी राम्रो भयो भने ४–५ वर्षसम्म भारतलाई हराउन सक्ने हुन्छौं ।’
यसअघि बंगलादेशसँग पराजित भएपछि कप्तान इम रानामगरले पनि बारम्बार प्रशिक्षक परिवर्तन हुनुले रणनीतिक रुपमा तयारी गर्न कठिन भएको बताएका थिए । गत वर्षको एसियाली खेलकुदमा डी जोङ प्रशिक्षक थिए । साउनमा सम्पन्न एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा हान आविङको प्रशिक्षण थियो । सागका लागि पुनः डी जोङलाई प्रशिक्षकको रूपमा बोलाइयो । ‘छोटो समयमा लगातार प्रशिक्षक परिवर्तन हुँदा उनीहरूको रणनीतिअनुसार टिमसेट गर्न कठिन भएको छ,’ कप्तान इमले भनेका थिए ।
उपकप्तान कुलबहादुरले बंगलादेशसँगको खेल हार्नु नै नेपाल समूह चरणबाटै बाहिरिनुको कारक भएको बताए । ‘भारतसँग जितको अपेक्षा थिएन । भारत हामीभन्दा अर्कै स्तरको टिम हो । तर पहिलो खेल हामीले जित्नुपर्थ्यो, जित्नसक्ने पनि थियौं । त्यही नै दुर्भाग्य भयो,’ उनले भने, ‘भारतसँगको खेलमा उनीहरूलाई उचाइको फाइदा थियो, त्यसको भरपूर सदुपयोग गरे । हाम्रा खेलाडी
हतोत्साही देखिए ।’
प्रशिक्षक डी जोङले हारका बाबजुद आफ्नो टिमको प्रदर्शनमा सन्तुष्टि व्यक्त गरे । ‘भारत हामीभन्दा बलियो टिम हो । उनीहरू अनुभवी छन् र लामो समयदेखि शीर्षस्तरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूविरुद्ध मेरा खेलाडीले गरेको प्रयासको सराहना गर्छु,’ खेलपछि
उनले भने ।
भारतका प्रशिक्षक जीई श्रीधरणले सोझो सेटको जितमा खुसी रहेको बताउँदै नेपाली टोलीको प्रदर्शनको पनि प्रशंसा गरे । ‘नेपाली टिमको खेलमा सुधार भएको छ । व्यक्तिगत रूपमा मैले घरेलु टोलीलाई सेमिफाइनलमा हेर्न चाहेको थिएँ । नेपाल त्यसको हकदार थियो । तर बंगलादेशसम्म ५ सेटमा पुगेर पनि कसरी पराजित भयो म भन्न सक्दिनँ ।’ भारतका कप्तान जेरोमी भिनिथले भने घरेलु मैदानमा खेलेजस्तो महसुस भएको प्रतिक्रिया दिए ।
सागका लागि मात्र अनुबन्धित भएका प्रशिक्षक डी जोङले पछिल्लो ३ वर्षमा नेपालको पुरुष भलिबल टोलीले निकै सुधार गरेको दाबी गरे । नेपाल भलिबल संघ र नेदरल्यान्ड्स भलिबल फेडेरेसनबीचको सम्झौतापछि उसले आफूमातहत स्तरीय प्रशिक्षक पठाउँदै आएको छ । ‘मैले ३ वर्षदेखि नेपाली भलिबल हेरिरहेको छु । यसबीच धेरै सुधार भएको छ । यहाँका युवा खेलाडीले प्रशस्त सम्भावना देखाएका छन्,’ उनले भने ।
अन्तर्राष्ट्रिय सहभागिताको ४० वर्ष लामो इतिहासमा नेपाली भलिबलले अहिलेसम्म उल्लेख्य सफलताको स्वाद चाख्न पाएको छैन । सन् १९७८ को एसियाली खेलकुदमा पहिलोपल्ट अन्तर्राष्ट्रिय सहभागिता जनाएयता दुई वर्षअघि एभीसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा जितेको कांस्य पदक नेपालले सर्वाधिक ठूलो सफलता हो । यसपल्ट समूह चरणबाटै बाहिरिएपछि नेपालको पदक सम्भावना पुनः टरेको छ ।
नेपाललाई पराजित गरेपछि भारत समूह विजेता हुँदै सेमिफाइनल पुगेको छ । भारतले बंगलादेशलाई हराएको थियो । नेपाललाई हराएको बंगलोदश समूह उपविजेता भएर सेमिफाइनल पुगेको हो । समूह ‘बी’ बाट श्रीलंका र पाकिस्तान सेमिफाइनल पुगेका छन् । श्रीलंकाले शुक्रबार माल्दिभ्सलाई २५–१८, २५–२३, २५–१७ ले हराएको थियो । श्रीलंका र पाकिस्तानबीचको खेलले समूह विजेता टुंगो लगाउने छ ।

 

१३ औं दक्षिण एसियाली खेलवुद

कुस्तीलाई इतिहास रच्ने मौका

- राजेन्द्र नाथ
अभ्याससत्रपछि कुस्तीको महिला/पुरुष टोली । तस्बिर ः कान्तिपुर

(काठमाडौं) - दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली कुस्तीको यात्रा निकै रोचक छ । चौथो संस्करणबाट भाग लिन थालेका कुस्ती खेलाडी अहिलेसम्म रित्तो हात घर फर्किनुपरेको छैन । उनीहरूले कुनै न कुनै पदक थापेकै छन् । सागमा पदकसंख्या थप्ने खेलका रूपमा चिनिएको कुस्तीलाई यसपल्ट भने घरेलु दर्शकमाझ आफ्नै भूमिमा ‘अग्निपरीक्षा’ दिनुपर्नेछ ।
उसलाई एकातिर पुरानो लय कायमै राख्नुपर्ने दबाब छ भने अर्कोतर्फ ‘होम ग्राउन्ड’ मा नयाँ इतिहास रच्ने मौका छ । ‘स्वदेशमै खेल भइरहेको छ । स्वदेशी दर्शकको साथ र समर्थनबीच यसपालि नयाँ इतिहास बनाउने मौका छ,’ प्रमुख प्रशिक्षक ब्रम्हदेव यादव आत्मविश्वासी सुनिए, ‘खेलाडीले कडा मिहिनेत गरेका छन् ।
सबै जनकपुर ‘अखडा’ मा प्रतीक्षारत छन् ।
काठमाडौंमा सम्पन्न आठौं साफमा त ५ कांस्य पदक नै हात पार्‍यो । नवौं सागमा सहभागी भएन । प्रशिक्षक यादवका अनुसार कुस्तीले देशका लागि अहिलेसम्म १६ पदक (रजत र कांस्य) भित्र्याइसकेको छ । ‘प्रतिनिधित्वको छोटो समय मै यसलाई राम्रो सफलता मान्नुपर्छ,’ उनले भने, ‘आन्तरिक विवाद (कुस्ती संघमा समानान्तर गतिविधि) छाडेर सबैजना सागमा होमिएका छौं ।’
तराई–मधेसको लोकप्रिय खेल हो कुस्ती । त्यसैले पनि जुराइएको थियो जनकपुर ‘दंगल’ । १३ औं सागको एउटा मात्रै खेल कुस्ती जनकपुरस्थित धनुषा जिल्ला कर्भडहलमा आयोजना हुनेछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । हेटौंडामा लामो बन्द प्रशिक्षण पछि खेलाडीहरू काठमाडौं आएका छन् । १६ गते उनीहरू जनकपुर पुग्ने कार्यक्रम तय भएको छ । त्यहाँका स्थानीयवासी स्वदेशी र विदेशी खेलाडीलाई स्वागत गर्न आतुर छन् ।
तराई–मधेसका २२ जिल्लामा केही वर्षयता आधुनिक कुस्ती प्रतियोगिता नबिराई हुने गरेको छ । अर्का प्रशिक्षक मुमताज अली इद्रिसी त्यहाँको हावापानी र माटो सुहाउँदो खेल नै कुस्ती भएको बताउँछन् । प्रमुख प्रशिक्षक रहिसकेका इद्रिसीका अनुसार अहिले सहभागी देशमध्ये आधुनिक कुस्तीमा नेपाल पछाडि नै छ । सस्तो खेल भए पनि राज्यले यसतर्फ ध्यान नदिएको गुनासो उनको छ । ‘सात प्रदेशमा ७ वटा म्याट पनि छैनन् । २७ वटा जिल्लामा कुस्ती खेल हुन्छ । तर ९ जना प्रशिक्षक छन्,’ उनले भने, ‘स्वयंसेवक कोचहरूले कुस्ती धानिरहेका छन् ।’
आयोजक नेपालले नै तराई–मधेस क्षेत्रमा कुस्तीको लोकप्रियता देखेर प्रदेश २ को राजधानी जनकपुरलाई ‘सिम्बोलिक’ रूपमा आयोजनास्थल तोकेको थियो । १३ औं सागका अधिकांस खेलहरू भने संघीय राजधानी काठमाडौं र गण्डकीको प्रदेश राजधानी पोखरामा हुनेछन् ।
१३ औं सागको कुस्तीतर्फ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपालका खेलाडी भिड्नेछन् । महिला–पुरुषका ७–७ तौल समूहमा नेपाली खेलाडीले प्रतिनिधित्व गर्ने तय भएको छ । ५७ केजी तौल समुहको पुरुषतर्फ नरेश यादव, ६५ केजीमा सरोज यादव, ७० केजीमा सुरेश चुनारा, ७९ केजीमा बुनीलाल यादव, ८६ केजीमा सागर यादव, ९२ मा समिर साह र १२५ केजी तौल समूहमा राज यादवले प्रतिस्पर्धा गर्नेछन् । समिर, सुरेश, बुनीलाल र सरोज अनुभवी खेलाडी हुन् ।
महिलातर्फ ५० केजीमा मनीषा सिंह, ५३ केजीमा सिवांगी दुवे, ५५ केजीमा संगीता धामी, ५७ केजीमा अम्बिका भण्डारी, ५९ केजीमा कोमल खत्री, ६२ केजीमा सुशीला चन्द र ६८ केजीमा निर्मला जागरी भिड्नेछन् ।
पुरुष खेलाडीले चौथो साफबाट सहभागिता जनाए पनि महिला प्रतिनिधित्व भने १२ औं सागमात्र भएको थियो । ‘अघिल्लो सागको सहभागिताले पनि होला । कुस्तीतर्फ महिलाको आकर्षण बढेको छ,’ प्रशिक्षक राजेन्द्र चन्दले भने, ‘पुरुषसरह उनीहरू पनि अखडामा भिडिरहेका छन् ।’
नेपालको तर्फबाट साग खेलिसकेका प्रशिक्षक चन्दका अनुसार ७ महिला खेलाडीमध्ये ६ जना एउटै जिल्ला कञ्चनपुरका छन् । ६२ केजीकी सुशीला चन्द भने बाँकेकी हुन् । उनी घरेलु प्रतियोगिता आर्मीको टिमबाट खेल्छिन् । उनले चीनमा भएको ‘आर्मी ओलम्पिक’ मा भाग लिइसकेकी छन् । त्यहाँ उनले पाचौं स्थान ओगटेकी थिइन् । अन्य ६ जना नयाँ अनुहार हुन् । उनीहरूलाई पनि सहभागिताको पहिलो वर्षमै प्रमाणित गर्ने मौका जुरेको छ ।

१३ औं दक्षिण एसियाली खेलवुद

जनकपुर घुमाइने

- सन्तोष सिंह

(धनुषा) - दक्षिण एसियाली खेलकुद (साग) मा कुस्तीका लागि तय गरिएको दिन घटाइएको छ । जिल्ला खेलकुद विकास समिति धनुषाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा खेलाडी संख्या कम भएकाले ४ दिनको समय घटाएर ३ दिनमा छोट्याइएको थियो । कुस्तीको १० तौल समूहमा ५ मुलुकका खेलाडीले भाग लिने छन् ।
भाग लिन आउने खेलाडीलाई जनकपुरको महत्त्वपूर्ण स्थानको भ्रमण गराउने तयारी छ । जनकपुरको पर्यटन विकासका लागि कुस्तीमा भाग लिन जनकपुर आइपुग्ने खेलाडी तथा पदाधिकारीलाई जनकपुर दर्शन गराउने तयारी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलकिशोर चौधरीले बताए ।
जनकपुर आउने विदेशी खेलाडीलाई जानकी मन्दिरसहित जनकपुर दर्शन र सन्ध्यकालीन गंगा आरतीमा समेत सहभागी गराइने तयारी भइरहेको छ । खेलाडीलाई होटलबाट कर्भडहलसम्म विशेष सुरक्षा साथ लगिने छ । दुई वटा मेडिकल टिम, अस्पतालको आईसीयूसमेत तयारी राखिने छ ।
सम्भावित दुर्घटनाका लागि जानकी मेडिकल कलेजको चिकित्सकीय टिम र आईसीयू बुक गरिएको डा. कविता अधिकारीले बताइन् । मेडिकल मोबाइल टोलीले खेलाडीको स्वास्थ्यमा आएको समस्या समाधान गर्दै होटलमै फिजियोको सुविधा उपलब्ध गराइने अधिकारीले बताए । प्रतियोगितामा पुरुष र महिलातर्फ २० स्वर्ण पदकका लागि नेपालसहित ५ देशका खेलाडीले प्रतिस्पधा गर्ने छन् । कुल ५९ खेलाडीले भाग लिने नाम पाएको राष्ट्रिय खेलकुद परिषद्का उप–निर्देशक बाबुराम नेपालले बताए ।
नेपाल, भारत र श्रीलंकाबाट पुरुषतर्फ ७–७ र महिलातर्फ ७–७ खेलाडीको नाम दर्ता गराएका छन् । पकिस्तानबाट पुरुषमा ७ खेलाडीले भाग लिनेछन् । बंगलादेशबाट पुरुषमा १० र महिलामा १० खेलाडीको नाम आएको जिखेविस अध्यक्ष चौधरीले बताए ।
जनकपुरमा खेलाडी, व्यवस्थापक, विदेशी रेफ्री गरी झन्डै १ सय २६ जनाभन्दा बढी आउने जिल्ला खेलकुद विकास समिति धनुषाले जनाएको छ । जनकपुरमा खेलाडी स्वागतका लागि ११ ठाउँमा स्वागत गेट बनाइने तयारी छ । जनकपुरमा शनिबार विवाह पञ्चमी मेला सकिएपछि स्वागत गेट बनाउने कार्यक्रम छ ।

१३ औं दक्षिण एसियाली खेलवुद

आठौंका चार कराते स्वर्णधारी

दुई पलायन, दुई अझै सक्रिय
- विनोद भण्डारी

(विराटनगर) - सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा नेपालले ३२ स्वर्ण जितेर पदकतालिकाको दोस्रो हुँदा विराटनगरका चार खेलाडीको योगदान रहेको थियो । चारैले करातेमा मुलुकलाई स्वर्ण पदक दिलाएका थिए । त्यो प्रतियोगितामा १०२ स्वर्ण जित्दै भारत पदक तालिकामा अगाडि थियो ।
कुमुतेतर्फ ७५ केजी तौल समूहबाट राजेश श्रेष्ठ, खुला तौल समूहबाट कृष्ण गुरुङ, ५५ केजी तौल समूहबाट जुनु राई र टिम कातामा प्रवीण रानाले स्वर्ण पदक जितेका थिए । विजेतामध्ये अहिले राजेश र प्रवीण करातेमै सक्रिय छन् । उनीहरू दुवै प्रशिक्षक छन् । कृष्ण वैदेशिक रोजगारीका लागि मकाउ पुगेका छन् । जुनु सिक्किम पलायन भएकी छन् । राजेश १३ औं दक्षिण एसियाली खेलकुदका लागि करातेबाट प्रशिक्षकमा छन् ।
त्यतिबेला २६ वर्षे राजेशले फाइनलमा भारतको चुनौती ६–१ अंकले सजिलै पन्छाउँदै इतिहास रचेका थिए । ‘त्यो स्वर्णले जीवनको मोड नै परिवर्तन गरायो,’ उनले भने । सेमिफाइनलमा पाकिस्तानीलाई नकआउट गर्दै उनी अगाडि बढेका थिए । किकभन्दा पञ्च बढी प्रहार गर्ने राजेशले सम्झिए, ‘भारतीय प्रतिस्पर्धीले एक पञ्च प्रहार गर्दा मैले ६ पञ्च प्रहार गरेको थिएँ अनि आफ्नो हातमा सजिलै स्वर्ण पदक पर्‍यो । त्यसबेला करातेमा नेपालको एकलौटी दबदबा थियो । स्वर्ण जित्नेमा ढुक्क थिएँ ।’
उनले भने अहिले अन्य मुलुकका खेलाडी पनि उत्कृष्ट रहेकाले कडा प्रतिस्पर्धा हुने उनको ठम्याइ छ । १३ औं सागमा १९ मा १० भन्दा बढी स्वर्ण जित्ने करातेको लक्ष्य रहेको राजेशले बताए । कुनै समय करातेमा पूर्वी नेपालका खेलाडीको उत्कृष्ट प्रदर्शन थियो । पछिल्लो समय यस क्षेत्रको प्रदर्शन शून्यप्राय हुँदा राजेश चिन्तित छन् । ‘विराटनगरबाट मुलुकका लागि स्वर्ण जित्ने हामी चार नै पहिलो र अन्तिमझैं भएका छौं । १३ औं सागमा यस क्षेत्रका एउटै खेलाडी छैनन्,’ उनले भने ।
पछिल्लो समय नेपालमा कराते खेलको अवस्था खस्किए पनि अहिले केही सुदृढ भएको करातेका पूर्व वरिष्ठ प्रशिक्षक महेशकुमार श्रेष्ठको प्रतिक्रिया छ । एकताका कराते नेपालको प्रमुख खेलजस्तै थियो । श्रेष्ठले भने, ‘अहिले त्यो अवस्था छैन ।’ विराटनगर कराते अझै पनि सशक्त रहेको मोरङका प्रशिक्षक विनोद राउतको दाबी छ । यहाँ उत्पादन हुने उत्कृष्ट खेलाडी विभागीय टोलीले टिप्ने गरेकाले र उनीहरूले विभागीय टोलीको नामबाट खेल्दा विराटनगरको नाम ओझेलमा परेको राउतको बुझाइ छ ।

Page 15
१३ औं दक्षिण एसियाली खेलवुद

इन्ट्रीमै खोसिएको त्यो पदक

- दीपक परियार
पोखराको आकासमा उडेको प्याराग्लाइडिङ । तस्बिर ः दीपक परियार/कान्तिपुर

(पोखरा) - पूर्वनिर्धारित खेलतालिकामा दक्षिण एसियाली खेलकुद उद्घाटनको एक दिनअगावै पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता हुने तय थयो । प्रतियोगिता भएको भए एसियाडमा रजत जित्दाका टिम कप्तान विमल अधिकारी शनिबार आकाशमा कावा खाइरहेका हुन्थे । प्याराग्लाइडिङमा ८ वटै स्वर्ण कब्जा
गर्ने उनको धोकोमाथि बज्रपात भयो । सहभागी राष्ट्रको संख्यै नपुगेपछि प्याराग्लाइडिङ रद्द भयो ।
पोखराको आकास अचेल खुलेको छैन, घुर्मैलो छ । आकास जस्तै धमिलो भएको छ प्याराग्लाइडिङका खेलाडी र प्रशिक्षकको मन । ‘खेल भएको भए मेडल चुम्न पाइन्थ्यो,’ मलिन स्वरमा कप्तान विमलले भने, ‘खेल भएन, दर्शक भएर बस्नुपर्‍यो । खेलाडीको हैसियतमा प्रवेश पास पाइँदैन ।’
इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुद (एसियाड) मा प्याराग्लाइडिङले क्रसकन्ट्रीमा रजत पदक जितेको थियो । एसियाडमा पहिलोपल्ट भएको प्रतियोगितामा पदक ल्याउने एकमात्र खेल प्याग्लाइडिङ थियो । त्यहीं उत्साह कायम राख्न नेपाल ओलम्पिक कमिटीले सागमा प्याराग्लाइडिङ समावेश गर्ने निर्णय गर्‍यो । आयोजक राष्ट्रले २ खेल थप्न पाउने प्रावधानको फाइदा लिँदै रोजिएको थियो, प्याराग्लाइडिङ र क्रिकेट । नेपालमै हुने सागमा पहिलोपल्ट प्याराग्लाइडिङ समावेश भएपछि प्रशिक्षक र खेलाडी औधी खुसी थिए । सागमा एक्युरेसी र क्रसकन्ट्रीतर्फ महिला तथा पुरुष एकल र टिम इभेन्टमा गरी ८ स्वर्णका लागि प्रतिस्पर्धा हुने तय थियो । एसियाडकै ढाँचामा साग हुने भएकाले त्यहाँको अनुभव प्रयोग गरेर स्वर्ण हत्याउने दाउमा थिए खेलाडी ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले अन्तिम समयसम्म पनि प्याराग्लाइडिङ हुने दोहोर्‍याइरहेका थिए । नेपालले प्याराग्लाइडिङका विदेशी खेलाडीको दोहोरो हवाई टिकट, खानेबस्नदेखि आवश्यक खर्च बेहोर्ने बताएको थियो । भारतले ‘हुन्छ, हुन्छ’ भन्दै अन्तिम समयमा आएर टिम दर्ता गरेन । नोभेम्बर २० सम्म नेपालबाहेक पाकिस्तानले मात्रै दर्ता गर्‍यो । प्रतिस्पर्धा हुन कम्ती ३ राष्ट्रले भाग लिनैपर्ने प्रावधानअनुसार प्याराग्लाइडिङ भएन ।
वैशाखबाट २७ खेलाडीले पोखरामा सागलक्षित प्रशिक्षण गरेका थिए । तीमध्ये दोस्रो चरणमा १४ पुरुष र ८ महिला छानिए । अन्तिममा ५ पुरुष र ३ महिला राष्ट्रिय टिममा छनोट गर्ने तयारी थियो । खेल नै नहुने भएपछि अन्तिम नामावली पठाइएन । एसियाडमा भने विमल अधिकारी, विशाल थापा, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र महिलातर्फ त्रिशा श्रेष्ठ बम्जन,
प्रतिभा भुजेल र सविता तामाङले नेपालबाट खेलेका थिए ।
भारतको उदासिनताले प्याराग्लाइडिङ नभएको खेलाडी विमल बताउँछन् । ‘भारत र पाकिस्तानमा राम्रा खेलाडी छन्,’ उनले भने, ‘नेपालले धेरै मेडल ल्याउने देखेपछि भारतले ‘इन्ट्रेस्ट’ नै देखाएन ।’ भारतले जित्ने निश्चित भएका खेलमा मात्रै खेलाडी पठाउने गरेको उनको भनाइ छ । आगामी सागमा प्याराग्लाइडिङ प्रतियोगिता गर्न ओलम्पिक काउन्सिल अफ एसियाले दक्षिण एसियाली मुलुकमा बजारीकरण गर्नुपर्ने, स्थानीय इभेन्ट गर्नुपर्ने र प्याराग्लाइडिङ संघलाई ती देशको सरकारी निकायसँग आवद्ध गराउन पहल गर्नुपर्ने उनी सुझाउँछन् ।
दक्षिण एसियाका धेरै देशमा प्याराग्लाइडिङ संघ नै छैन । क्लबका रूपमा विभिन्न गतिविधि हुन्छन् । यसपल्ट भारतकै कारण प्रतियोगिता नभएको प्याराग्लाइडिङ तथा
ह्याङग्लाइडिङ संघ (नेफा) का महासचिव शैलेन्द्र राउतको दाबी छ । ‘प्याराग्लाइडिङको ६–७ मेडलले सागको र्‍याङकिङमा नेपाल माथि पुग्थ्यो,’ उनी भन्छन्, ‘भारतले यही कुरा मसिनो गरी बुझेर प्याराग्लाइडिङबाट पछि हट्यो । खेलभित्र अर्को खेल खेल्यो ।’
उनका अनुसार पोखरामा १० वर्षदेखि प्याराग्लाइडिङ उडाइरहेका भारतीय पाइलट अजय शर्मा भारतीय ओलम्पिक कमिटीका महासचिव राजीव मेहतालाई भेट्न नयाँदिल्ली नै पुगे । एक महिना बसेर शर्माले भारतीय टिम ल्याउन प्रयास गरे तर सकेनन् । प्याराग्लाइडिङ संघले बंगलादेश र भुटानका खेलाडीलाई नेपालमा अभ्यास गराइदिने प्रस्ताव राख्यो । सोझै कांस्य पदक जित्ने अवस्थामा पनि ती देश सहभागी भएनन् ।
नेपाली खेलाडीले आफ्नै खर्चले तालिम लिएका थिए । उनीहरूले पाउनुपर्ने सुविधा पाएनन् । सागमा खेल भएको भए राखेपले छनोट भएका खेलाडीलाई २–२ सेट ग्लाइडर दिने वचन दिएको थियो । वैदेशिक प्रशिक्षणमा जाने तयारी थियो । क्रसकन्ट्रीमा निख्खर खेले पनि एक्युरेसीलाई चाहिने थप कुशलता सिक्न विशाल थापा र विजय गौतम भारत गएका थिए । प्रशिक्षण दिनप्रतिदिन राम्रो हुँदै गइरहेको थियो ।
प्याराग्लाइडिङलाई आवश्यक बजेट आइनपुग्दा पूर्वाधार निर्माणको काम हुन सकेको थिएन । हाल भइरहेकै अवस्थामा साग आयोजना गर्ने तयारी थियो । खेलै नभएपछि पूर्वाधार नै बनेन । सागमा सराङकोटबाट उडान भरेर खपौंदी र तोरीपानीबाट उडान भरेर चंखपुर अवतरण गर्ने योजना बनाइएको थियो । टेकअफ र ल्यान्डिङमा आवश्यक शौचालय, चेन्जिङ रुमलगायत पूर्वाधार बनेनन् ।
सम्बन्धित देशका ओलम्पिक कमिटी र प्याराग्लाइडिङ संघबीच समन्वय नहुँदा ती देशका खेलाडी सहभागी नभएको प्रशिक्षक योगेश भट्टराई बताउँछन् । उनका अनुसार प्याराग्लाइडिङमा दक्षिण एसियाली मुलुकमध्ये नेपाल अग्रस्थानमा छ । ‘देशलाई अत्यधिक मेडल दिलाउने खेल नै प्याराग्लाइडिङ हुने थियो,’ उनले भने, ‘खेल नहुँदा पदकतालिकामा राज्यलाई घाटा पुग्ने भयो ।’

Page 16
खेलकुद

कसरी सम्झने शरदचन्द्र शाहलाई ?

नेपाली खेलकुदमा लागेको पुरानो पुस्तासँग संगत गर्नुपर्छ, कुनै न कुनै मोडमा उनको नाम आइहाल्छ । एउटा समूहले उनलाई खुबै प्रशंसा गर्छन् । अर्को समूहले उत्तिकै गाली गर्छन् ।
- हिमेश

(काठमाडौं) - नयाँ पुस्ताका खेल पत्रकारले शरदचन्द्र शाहलाई कहिल्यै भेट्नै पाएनन् । खाली उनीबारे नेपाली खेलकुदमा सुने मात्रै । मिति ठ्याक्कै थाहा भएन, तर ०५८ सालको घटना हुनुपर्छ, नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको एउटा कार्यक्रममा उनी सभागृहमा देखिए । त्यस अवसरमा उनले खुबै मीठो ढंगले बोले पनि । सन् १८९६ बाट सुरु भएको आधुनिक गृष्मकालीन ओलम्पिकबाट धारा प्रभाव बोले । वर्ष र आयोजना गरेको सहरबारे उनलाई सबै थाहा थियो ।
त्यही बेला थाहा भयो, उनको स्मरण शक्ति वास्तवमै निकै तेजिलो रहेछ । उनी एकपल्ट सुनेको, पढेको र देखेको कहिल्यै बिर्सदैनन् भनिएको थियो । त्यस्तै रहेछ । आफ्नो भाषण अन्त्य गर्ने क्रममा उनले एउटा आरोप पनि लगाए, ‘अचेल नेपाल ओलम्पिक कमिटी कसैका लागि मागेर खाने थलो भएको छ । उनी नेपाली खेलकुदका त्यस्ता ‘लिजेन्ड’ हुन्, जसबारे चर्चा गर्दा एक कित्ता कि त उनको पूर्ण विरोधमा उत्रिन्छन्, होइन भने अर्को कित्ता पूर्ण समर्थनमा ।
हुनसक्छ, नेपालको मूलधारको राजनीतिमा पनि उनी जत्तिको विवादास्पद व्यक्तित्व कमै होलान् । उनी जोडिएर नाम आउने हुनाले नेपाली खेलकुद भनेपछि नाक खुम्च्याउने पनि उत्तिकै छन् । अहिले शरदचन्द्रको प्रसंग किनभन्दा उनी त्यस्ता व्यक्तित्व पनि हुन्, जसको चर्चाबिना दक्षिण एसियाली खेलकुदको इतिहास लेख्न सकिन्न । लेखे पूरा हुन्न । भोलि आइतबार औपचारिक रूपमा १३ औं दक्षिण एसियाली खेलकुद सुरु हुँदै छ ।
नेपालले आयोजना गर्न लागेको यो तेस्रो संस्करणको प्रतियोगिता हो । सन् १९८४ मा नेपालबाटै दक्षिण एसियाली खेलकुदको सर्वोच्च प्रतियोगिता सुरु भएको थियो । दोहोर्‍याएर भन्नैपर्छ, दक्षिण एसियाली देशको अलग्गै ओलम्पिक र एसियाली खेलकुद शैलीको खेल महोत्सव चाहिन्छ भन्ने सोच पहिलोपल्ट प्रस्तुत गर्ने नै उनी हुन् । सोच प्रस्तुत गरेदेखि प्रतियोगिताको वास्तविक आयोजना हुँदासम्म उनी निरन्तर यसमा खटिरहे ।

दक्षिण एसियाली खेलकुदको सोच
सन् १९७८ मा थाइल्यान्डको बैंककमा भएको थियो, आठौं एसियाली खेलकुद । त्यसै बेला पहिलोपल्ट दक्षिण एसियाली खेलकुद आयोजनाको सोचबारे कुराकानी भएको थियो । तर त्यो औपचारिक थिएन । औपचारिक रूपमा पहिलोपल्ट दक्षिण एसियाली देशबीच क्षेत्रीय खेलकुद हुनुपर्छ भन्ने कुराकानी सन् १९८१ मा भयो, जतिबेला जर्मनीमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को कंग्रेस भएको थियो । त्यतिबेला प्रारम्भिक छलफलमा भाग लिने देश थिए, नेपालसँगै श्रीलंका, भारत र पाकिस्तान ।
यिनै चार देश के तथ्यमा पनि सहमत भए भने सबैभन्दा पहिलो यसका लागि दक्षिण एसियाली खेलकुदका लागि छुट्टै महासंघको स्थापना हुनुपर्छ । अनि दक्षिण एसियाका अरू देशसँग पनि यसबारे छलफल अगाडि बढाउनुपर्छ । यी सबै सोच र कारण अगाडि बढाउने तथा संयोजनकारी भूमिका निभाउने काम यिनै नेपालका शरदचन्द्र शाहले गरेका थिए । उनी त्यतिबेला राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव पनि थिए ।
यी सबै छलफलबीच पनि प्रतियोगिता हुन सात वर्ष कुर्नुपरेको थियो । सन् १९७८ मै वर्णानुक्रमअनुसार बंगलादेशले पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय भएको थियो । तर बंगलादेशले त्यसको आयोजना गर्न सकेन । यो एक प्रकारले प्रतियोगिता आयोजना गर्ने सोचमै धक्का थियो । सन् १९८२ मा भारतको नयाँ दिल्लीले नवौं एसियाली खेलकुद हुँदा फेरि एकपल्ट दक्षिण एसियाली खेलकुदको आयोजनालाई लिएर गम्भीर छलफल भयो ।
त्यही वर्षको नोभेम्बर २६ मा दक्षिण एसियाली खेलकुद महासंघको पनि गठन भयो । त्यसैले यो दिनलाई दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक र निर्णायक मान्नुपर्छ । त्यसमा सुरुआती सदस्य थिए, नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका । त्यसको एक वर्षपछि त्यसमा भुटान र माल्दिभ्स पनि सहभागी भए । महासंघले सन् १९८३ मा बंगलादेशमै पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय गर्‍यो, तर बंगलादेशले दोस्रोपल्ट पनि आफ्रले पाएको जिम्मेवारी पूरा गर्न सकेन ।
यस्तोमा नेपाल अगाडि सर्‍यो । काठमाडौंले आयोजना गर्‍यो, सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद । नेपालले दोस्रोपल्ट सन् १९९९ मा दक्षिण एसियाली खेलकुदको आयोजना गर्दा उनलाई सम्झने काम भएन । त्यतिबेला माहौल पनि थिएन । अहिले पनि सम्झने प्रयास भइरहेको छैन । अब त उनी हाम्रोमाझ रहेनन् पनि । पूर्व खेलकर्मी तथा राजनीतिज्ञ कमल थापाले उनीसँग लामो समय सँगै काम गरे । शुक्रबार मात्र उनै शाहलाई सम्झेर ट्विट गरे । उनले लेखेका छन्, ‘नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद हुन लागेको अवसरमा यसका संस्थापक नेपाली खेलकुदजगतका शिखर व्यक्तित्व स्वर्गीय शरदचन्द्र शाहप्रति राष्ट्रले सम्मान गर्नुपर्छ भन्ने लाग्छ ।’
साँच्चै कसरी सम्झने शरदचन्द्र शाहलाई ? नेपाली खेलकुदमा लागेको पुरानो पुस्तासँग संगत गर्नुपर्छ, कुनै न कुनै मोडमा उनको नाम आइहाल्छ । एक समूह उनको खुबै प्रशंसा गर्छन् । अर्को समूहले उत्तिकै गाली पनि गर्छन् ।

शक्तिशाली व्यक्तित्व
वास्तवमा उनीबारे नेपाली खेलकुदवृत्तमा धेरै कथा अझै सुन्न पाइन्छ । जति बेला नेपाली खेलकुद उनको हातमा रह्यो, उनी निकै शक्तिशाली रहे । यो शक्ति खेलकुदमै मात्र सीमित थिएन । पञ्चायतकालमा अञ्चलाधीश खुबै शक्तिशाली हुन्थे, तर यिनै अञ्चलाधीश शरदचन्द्र शाहमा हाजिरी लगाउँथे । उनी तत्कालीन राजपरिवारसँग खुबै नजिक थिए, त्यसैले अविश्वसनीय रूपमा शक्तिशाली थिए । उनले जे भन्थ्यो, त्यो पूरा हुन्थ्यो ।
उनी राजपरिवारका सदस्य–सदस्यमा पुगेर भक्तिभावले प्रस्तुत हुन्थे । अनि उनी पनि चाहन्थे, अरूले पनि आफूलाई त्यस्तै व्यवहार गरोस् । उनको नाममात्र नेपाली खेलकुदमा कसैलाई हप्काउन र तर्साउन तयार हुन्थ्यो । जसले उनको सेवामा हाजिरी हुन चाहेन, उनको नियति राम्रो हुने सम्भावना कमै हुन्थ्यो । उनी खासमा शक्तिको खासै पूजारी थिए, शक्तिकेन्द्रको छत्रछायाँमा रहन्थे र त्यसको पूरापूर फाइदा उठाउँथे ।
सदस्य–सचिव हुँदा त्रिपुरेश्वरबाट उनी आफ्नो गाडीमा तीव्र गतिले आउँथे र उनका लागि ढोका सबै नाटकीय रूपमा खुल्नुपर्थ्यो । उनी त्यसरी प्रस्तुत हुन्थे कि अरूले उनलाई सम्मान नदेखाएर बस्नसक्ने स्थिति नै हुन्न थियो । त्यसकै फाइदा उठाएर उनले राष्ट्रिय खेलकुद परिषद्का लागि प्रशस्त जग्गा जमिन जोडे । अहिले पनि जग्गा जमिनको आधारमा परिषद निकै धनी छ । खेलाडीलाई सुविधा दिन पनि उनले कन्ज्युस्याइँ गरेनन्, वैदेशिक प्रशिक्षणका लागि युरोपतिर व्यवस्था गर्थे ।
राजपरिवारको सदस्य अगाडि भने हातखुट्टाले टेकेको जस्तै अवस्थामा प्रस्तुत हुन्थे । जे जति भनिए पनि त्यसमा खाली भन्थे, ‘सरकार ।’ उनलाई पनि राजा भनेर सम्बोधन गरिन्थ्यो । उनी नजिककाहरू भन्ने गर्छन्, शरदचन्द्रको सबैभन्दा ठूलो कमजोरी नै राजसंस्था र यसका परिवार थियो । उनी त्यहाँबाट आएका कुरा ठीक होस् अथवा नहोस्, जुनै पनि आदेश स्वीकार गर्थे । एकप्रकारले राजसंस्थाले उनलाई कुनै पनि काम गर्नका लागि आफ्नो प्रतिनिधि जस्तै बनाएको थियो, यसक्रमा धेरै विवादास्पद काम गरे । बदनाम पनि भए ।

विवादको जग बसाल्ने व्यक्ति
त्यसो त उनले राष्ट्रिय खेलकुद परिषद्मा १० वर्ष जति सदस्य–सचिवको भूमिका निभाए । त्यही बेला उनी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पनि बने । उनको समयलाई नेपाली खेलकुदको स्वर्णकाल थियो भनेर दाबी गर्ने पनि छन् । तर उनले नेपाली खेलकुदको गलत प्रयोग गर्ने कामको सुरुआत गरे । उनले नै नेपाली खेलकुदमा राजनीति छिराए, त्यो पनि गलत नियतले । उनले नेपाली खेलकुदलाई तत्कालीन पञ्चायती व्यवस्थाको फाइदाका लागि लगातार प्रयोग गरे ।
उनी २०४५ साल सदस्य–सचिव पदबाट बर्खास्तमा परे, तर उनले ओलम्पिक कमिटीको नेतृत्व भने छाडेनन् । उनले त्यतिबेला भनेका थिए, परिषद र ओलम्पिक कमिटी भनेका दुई फरक संस्था हुन् । उनले सुरु गरेको त्यो विवाद अहिलेसम्म पनि जस्ताको त्यस्तै छ । खासमा उनले त्यसखाले विवादको जग बसाउने काम गरे । उनले नै पहिलो पटक परिषद् र ओलम्पिक कमिटीलाई आफूअनुकूल प्रयोग गर्ने परम्परा पनि बसाले ।
सबैभन्दा ठूलो उनले नेपाली खेलकुदलाई बदनाम बनाए । उनकै कारण नेपाली समाजको एकतप्का खेलकुद क्षेत्रलाई बदनाम मान्छ, यसमा प्रवेश गर्नुलाई ठीक मान्दैन । बरु यसलाई मण्डलेहरूको संस्था मान्छ । यो त उनले नेपाली खेलकुदलाई लगाएको सबैभन्दा ठूलो दुर्गुण नै भयो । नेपाली खेलकुदबाट पूर्णतः बाहिरिएपछि उनी फेरि फर्केर भने आएनन् । बरु बेला–बेलामा अन्य राजनीतिक कारणले चर्चामा आइरहे । ०६९ असार ५ मा सिंगापुरमा उपचार गर्ने क्रममा उनको निधन भयो ।
उनले गुमनाम मृत्यु आत्मसात् गरे । इतिहासको अध्ययन गर्नेले के भन्ने गर्छन् भने कुनै पनि व्यक्ति वा समय खण्डको विश्लेषण गर्दा त्यतिबेला भएका राम्रो नराम्रो सबै घटनाक्रम अगाडि ल्याइनुपर्छ । नेपाली खेलकुदलाई उनले पक्कै पनि गलत प्रयोगमा लगाएका हुन्, त्यसैले यो अझै पनि बद्नाम छ । तर ठीक यहीं के पनि मान्नुपर्छ भने दक्षिण एसियाली खेलकुदको वास्तविक सोच उनकै हो । उनलाई कसरी सम्झने हो, त्यो व्यक्तिपिच्छे फरक हुने भयो नै ।

खेलकुद

क्रिकेट मैदानको काम धमाधम

- रमेशकुमार पौडेल

(चितवन) - धुर्मस–सुन्तली फाउन्डेसनले जनस्तरमा सहयोग जुटाएर भरतपुरमा बनाउन लागेको प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान निर्माणको काम अगाडि बढेको छ । भरतपुर महानगरपालिकालाई कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको रामपुरको जग्गामा फाउण्डेशनले रंगशाला बनाउँदै छ ।
रंगशाला निर्माणका लागि गत वर्षको माघ १६ मा भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सहमति भएको थियो । रंगशालाको लागत झण्डै तीन अर्ब रुपैयाँ छ । यसअघि भुकम्प प्रभावितहरूका लागि नमुना वस्तीहरू निर्माणको अनुभव बटुलेको फाउण्डेशनले देश विदेशका नेपालीहरूले दिने सहयोगबाट रंगशाला बनाउने महत्वकाक्षी योजना अगाडी सारेको हो । डिपिआर बनेको दुई वर्षभित्र रंगशाला निर्माण सक्ने योजना छ ।
गएको कात्तिक ६ गते विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक भएको थियो । लगत्तै मैदान निर्माणको काममा संलग्न भएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले बताए । अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ७० मिटर ब्यास भएको क्रिकेट मैदान तयार हुँदैछ । ‘मैदानको क्षेत्र सम्याउने, पुर्ने काम गरेका छौं । ड्रेनको काम पनि अगाडी बढेको छ’ कट्टेलले भने ।
इन्जिनियर राजेश थापा मगरले यो कामको रेखदेख गरेका छन् । ‘दुबो राख्ने र पीच बनाउने कामपछि हुन्छ । त्यसको लागि चाहिने संरचनाको काम हामीले गरी रहेका छौं । झण्डै ४० प्रतिशत प्रगति भएको छ,’ इन्जिनियर थापा मगरले भने । झन्डै २० दिनमा यति काम भएको उनले बताए । मैदानको काममा बिहान ६ बजेदेखि रातिसम्म खट्ने गरेको कट्टेलले बताए ।
फाउन्डेसनले काम सुरु गरेपछि गत जेठमा स्थानीयबीच विवाद हुँदा निर्माण क्षेत्रमा लगाएको जस्ताको अस्थायी बार डोजर चलाएर स्थानीयले भत्काइदिएका थिए । त्यसपछि रंगशाला निर्माण हुने वा नहुने भन्ने बारेमा अन्यौल छाएको थियो । यो घटनापछि आर्थिक संकलन अभियान पनि राम्रोसँग चल्न सकेको छैन । चितवनका स्थानीय तहले रंगशाला निर्माणमा जुट्ने प्रतिवद्धता देखाएपछि फाउन्डेसन साउनदेखि काममा फर्केको थियो ।
फाउन्डेसन अहिले मैदान निर्माणमा केन्द्रित भएको छ । त्यसपछि प्याराफिट राख्ने संरचना बनाउने र अन्य कामहरूमा लाग्ने योजना छ । फाउन्डेसनले काम सुरु गरे पनि आर्थिक स्रोतको भने अभाव खड्केको छ । तीन अर्बको योजनाका लागि अहिलेसम्म ६ करोड रुपैयाँको हाराहारीमा मात्रै सहयोग घोषणा भएको छ । फाउण्डेशनका अनुसार रकम भने त्योभन्दा पनि कम प्राप्त भएको छ ।
निर्माण परिसरमै नमुना मैदान
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलभित्रै फाउन्डेशनले नमुना क्रिकेट मैदान निर्माण गरेको छ । निर्माण पूरा भएका कारण शुक्रबारदेखि खेल सुरु भएको छ । रामपुरमा रहेका कृषि तथा वन विज्ञान विश्वविद्यालयका छटौं र सातौं ब्याचका विद्यार्थीबीच ट्वान्टी–२० क्रिकेट प्रतियोगिता नै सम्पन्न भयो । जिल्लामा आयोजना हुने क्रिकेट प्रतियोगिता यही मैदानमा गर्ने योजना बनाएको कट्टेलले बताए ।
‘चितवनमा यो जस्तो राम्रो क्रिकेट मैदान अन्यत्र सायदै होला । हामीले जिल्लामा पनि खेल हुने छन् अब यही खेलाउने तयारी गर्दैछौं,’ कट्टेलले भने । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि तयार हुँदै गरेको क्रिकेट मैदानभन्दा उत्तर तर्फ नमुना क्रिकेट मैदान छ । गुरुयोजना अनुसार रंगशालाको पार्किङ क्षेत्रमा अहिले नमुना मैदान रहने छ । रंगशाला तयार हुँदै जाँदा त्यो क्षेत्र पार्किङकै लागि प्रयोग हुनेछ ।

खेलकुद

ओलम्पिक छनोटको मान्यता खोसियो

- राजु घिसिङ

(काठमाडौं) - भुटानले खेलाडी दर्ता प्रक्रियामा डोपिङ परीक्षणको नियम पालन नगरेपछि १३ औं दक्षिण एसिायली खेलकुद (साग) मा भारोत्तोलनले टोकियो ओलम्पिक–२०२० छनोट प्रतियोगिताको रूपमा पाएको मान्यता गुमाएको छ ।
नेपाल भारोत्तोलन संघको पहलमा १३ औं सागले ओलम्पिक छनोटको मान्यता चार महिनाअघि पाएको उल्लेख गर्दै संघका महासचिव पार्थ सारथि सेन गुप्तले शुक्रबार भने, ‘ओलम्पिक छनोटमा डोपिङ टेस्टको लागि प्रतियोगिताको तीन महिनाअघि नै एन्टी डोपिङ म्यानेजमेन्ट सिस्टममा खेलाडी दर्ता गर्नुपर्छ । खेलाडी कहाँ छन्, के कस्तो अवस्थामा के गरिरहेका छन् भन्ने जानकारी दुई महिनाअघि गर्नुपर्छ । यी सबै प्रक्रिया ५ देशले पूरा गरे । पछि भुटानले पनि खेलाडी पठाउने भयो । उसलाई समावेश गर्दा सागले ओलम्पिक छनोटको मान्यता गुमाएको हो ।’
घरेलु टिम नेपाल, दक्षिण एसियामा बलियो मानिएको भारतसहित श्रीलंका, पाकिस्तान र बंगलादेशले अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (आईडब्लूएफ) को तीन महिने प्रक्रियाभित्रै यो सागका लागि खेलाडी दर्ता गरिसकेका थिए । ‘सागको भारोत्तोलनमा भुटानले पहिलोपल्ट खेलाडी पठाउँदै छ भन्ने जानकारी थिएन,’ एसियाली भारोत्तोलन महासंघ (एडब्लूएफ) को प्राविधिक समितिका सचिवसमेत रहेका सेन गुप्तले भने, ‘आईडब्लूएफको नियम पालना गर्दा भुटानी खेलाडीले १३ औं सागमा खेल्नै नपाउने भयो । नयाँ टिमले खेल्नै पाएन भने राम्रो हुँदैन भन्ने लाग्यो । त्यसैले आईडब्लूएफसँग छलफल गरेरै भारोत्तोलनको ओलम्पिक छनोटको रूपमा साग आयोजना नगर्नेमा पुगेका हौं ।’
आईडब्लूएफको सदस्यता समितिमासमेत रहेका उनले भने, ‘सागको आयोजक दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को नियमानुसार खेलाडी दर्ता एक महिनाअघिमात्रै हुन्छ । ओलम्पिक छनोटको लागि आईडब्लूएफको खेलाडी दर्ताको नियमलाई हामी सागमा लागू गर्न सक्दैन थियौं । सागजस्ता बृहत् खेलकुदको आफ्नै नियम र परम्परा हुन्छ, जुन आईडब्लूएफसँग मिल्दो भएन । त्यसैले पनि ओलम्पिक छनोटको मान्यताबाट हट्नु नै ठीक लाग्यो ।’ १३ औं सागमा खेल र खेलाडीसंख्या दर्ताको अन्तिम मिति १० अक्टोबर तोकिएको थियो भने खेलाडीको नाम दर्ताको सीमा नोभेम्बर २० । जबकि साग डिसेम्बर १ (आइतबार) सुरु हुँदै छ । त्यसैले ओलम्पिक छनोटको लागि सागमा खेलाडीको दर्ता प्रक्रिया नै मिलेन ।
संघका महासचिव सेन गुप्तले डोपिङ परीक्षणबारे भने, ‘सागमा क्षेत्रीय डोपिङ (राडा) ले पनि हेर्छ । डोपिङको लागि प्रक्रिया पुगकै थियो । हामी तयार थियौं । खेलाडी दर्ताकै प्रक्रिया पूरा नहुने भएपछि हामीले ओलम्पिक छनोटको मान्यता छाडेका हौं ।’ उनले थपे, ‘हाम्रो खेलाडी ओलम्पिकमा छनोट हुने सम्भावना धेरै टाढा छ । तर, नेपालमा पहिलोपल्ट ओलम्पिक छनोट आयोजना गर्ने अवसर भने गुमाएका छौं ।’ टोकियो ओलम्पिकमा खेलाडीले १८ महिनाको अवधिमा ६ प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा छनोट हुने प्रक्रिया छ । त्यसमध्ये उत्कृष्ट चार नतिजा निर्णायक मानिन्छ ।
सागले ओलम्पिक छनोटको मान्यता गुमाएसँगै यसको प्रत्यक्ष असर भारतीय टिमलाई परेको छ । जेरेमी लालरिन्नुगा गत वर्ष युथ ओलम्पिक (ब्यनर्स आयर्स) मा स्वर्णपदक जित्ने पहिलो भारतीय खेलाडी बनेका थिए । एसियन भारोत्तोलन च्याम्पियनसिपमा रजत जितेका १७ वर्षे उनीसँगै साइखोम मिराबाई चानुलाई १३ औं सागमा नपठाउने निर्णय भारतीय भारोत्तोलन महासंघ (आईडब्लूएलएफ) ले गर्‍यो । विश्व भारोत्तोलन च्याम्पियनसिप २०१७ र कमनवेल्थ गेम्स २०१८ मा स्वर्ण जितेकी २५ वर्षीया चानु सिलोङमा भएको १२ औं साग २०१६ मा ४८ केजी स्पर्धामा पनि स्वर्ण कब्जा गरेकी थिइन् । चानु र जेरेमीलाई सागको टिमबाट हटाएर दोहामा डिसेम्बर १९ देखि हुने ओलम्पिक छनोटअन्तर्गत इन्टरनेसनल कपमा पठाउने उल्लेख गर्दै ओलम्पिक च्यानलले भारतले जुनियर खेलाडीलाई नेपाल पठाउन लागेको जनाएको छ ।
सागमा भारोत्तोलनको प्रतिस्पर्धा डिसेम्बर ७ देखि ८ सम्म पोखरास्थित एफआरके बैंक्केट हलमा हुँदै छ । यसमा पुरुष र महिलाका १०–१० स्पर्धा समावेश गरिएको छ । त्यसमध्ये एक देशले ७–७ स्पर्धामा सहभागी हुन पाउँछ । १५ स्पर्धा समावेश १२ औं सागमा भारतले १२ तथा श्रीलंका, पाकिस्तान र बंग्लादेशले १–१ स्वर्ण जितेका थिए । त्यसमा नेपालले १ रजत र ३ कांस्य हात पारेको थियो ।

Page 17
कोसेली

ती साना चप्पल

- गंगा बीसी

कीर्तिपुर पाँगा । त्रिभुवन विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि प्रिय गाउँ । नयाँ बजारबाट बढीमा १० मिनेट पैदल दूरी । विद्यार्थीका लागि यसकारण प्रिय कि पढ्ने वातावरण, डेरामा बस्नेलाई खाट र परालको ग्न्द्रुी फ्री पाइने । अर्को चलन पनि– घरबेटी, स्थानीय व्यापारीले त्यहाँ बस्ने सबै विद्यार्थीलाई ‘सर’ भनेर सम्बोधन गर्ने । हामी दाङबाट काठमाडौं उपत्यका आएपछि करिब छ महिना रविभवनमा बस्यौं । तुलसी दिवस महतारा दाइले खोजेको डेराबाट कीर्तिपुर पढ्न जान टाढा भयो । त्यसैले कीर्तिपुरको पाँगा सर्‍यौं ।
देशमा शाही संकटकाल थियो । राजधानीमा सुरक्षाकर्मीको जासुसी गल्लीगल्लीमा थियो । रविभवन बस्दै थाहा भइसकेको थियो— कहिले गीत गाउँदै आउँथे जासुस, कहिले सामान बेच्दै । कहिले डेरा खोज्दै । धेरै रूप थिए, शाही सुरक्षाकर्मीका । संकटकालको जरो गाडिएको दाङ घोराहीमा पूरै सैनिक शासन थियो । दाङको वातावरण हेरेर काठमाडौं खुकुलो लाग्नु स्वाभाविक थियो । सानातिना सुरक्षा सर्चको खासै वास्ता लाग्दैनथ्यो । घोराहीको भने एकएक जमिनमा सुरक्षाकर्मीको पाइला थियो । माओवादीले २०५८ मंसिरमा दाङमा सेनाको ब्यारेक आक्रमण गरेपछि संकटकाल घोषणा गरी शाही सेना परिचालन भएको थियो ।
रविभवनबाट पाँगा सरेपछि भने वातावरण अलि फरक देखियो । त्यहाँ सुरक्षाकर्मीको नजर अलि बढी नै लागेको रहेछ । विश्वविद्यालय पढ्ने विद्यार्थीहरू मात्र होइन पुस्तौं बस्दै आएका सोझा स्थानीय किसानहरूप्रति सुरक्षाकर्मीको शंका थियो । सुरक्षाकर्मी सबैलाई माओवादी देख्थे । त्यसकारण सुरक्षा निगरानीको तारो थियो पाँगा हुने नै भयो ।
पाँगा सरेको पहिलो डेरा एक हप्तामै छाड्नुपर्‍यो । राम्रो भएन । अर्को डेरा कान्छा महर्जनको घर । जग काठ र माटोले बनेको, माथिल्लो एक तला भने ढलान थियो । ७२ को भूकम्पमा अरू पक्की घर ढले, त्यो घर भने सुरक्षित रह्यो । कान्छा र कान्छी महर्जनको घरमा छोइला र ऐलासमेत बेलाबेला खान पाइन्थ्यो । यसको सम्झना मनमा गढेकै छ । त्योभन्दा गहिरोसँग बसेको छ, अर्को एक सम्झना, जुन सुनाउनका लागि यो भूमिका बाँधिएको हो ।
कान्छाको घरका पहिलो तलाको ठूलो कोठामा हाम्रो बास थियो । दुई झ्याल भएको कोठा आधा पर्दाले छेकेर किचन बनाइएको थियो । जाडोमा न्यानो र गर्मीमा शीतल थियो । श्रीमतीको त्रिभुवन विश्वविद्यालयमा एमएको पढाइ चल्दै थियो, मेरो पत्रकारिता । हामीसँग तीन वर्षको छोरा पनि साथै थियो ।
पाँगामा माओवादीको केही प्रभाव भएकाले शाही सुरक्षाकर्मीका आँखा पाँगामा लाग्नु स्वाभाविक थियो । त्यसैले कुनै न कुनै रूपमा सुरक्षाकर्मीको गस्ती र छापा चलेको हुन्थ्यो । गुप्तचरहरूको पाँगामा सधैं निगरानी हुन्थ्यो । स्थानीयले सुनाइसकेका थिए— खासगरी रुकुम, रोल्पा, सल्यान जिल्लाका विद्यार्थीको सुरक्षाकर्मीले रेकर्ड बनाएर राखेका छन् !
२०६० पुस महिना । चिसोले काठमाडौंलाई छोपेको बेला मध्यरातमा शाही सेनाले पाँगा घेरा हाले । करिब एक हजार पाँच सय सेनाको घेराबन्दीमा पाँगा थियो । घरघरमा हतियारधारी सेना पसेपछि मस्त निद्रामा परेकाहरू ब्युँझिए । बालबालिकाहरू डरले रोएको सुनिन्थ्यो । घरबेटी, डेरामा बस्ने कोठामा भीषण सर्च अभियान चलाइएको थियो । म बसेको कान्छा महर्जनको घरमा पनि सैनिक पसेको आवाज आयो । त्रास हुने नै भयो अब के हुने हो ? चुपचाप बस्नुबाहेक अरू कुनै उपाय थिएन ।

रुकुम–रोल्पा आफैंमा ‘विद्रोही’ नाम थियो । यस्तो लाग्थ्यो, यी दुई जिल्लाको मान्छेको निधारमै ‘माओवादी’ भनेर लेखिएको छ । यी दुई जिल्लालाई माओवादीको गढ मानिएकाले राजधानीमा पनि यहाँका मान्छेमाथि बेग्लै निगरानी हुन्थ्यो । ती क्षेत्रका मान्छेहरू सेनाको सर्चमा परेपछि लामो सोधपुछ र पक्राउ पर्ने सम्भावना धेरै थियो । त्यसैले सेनाको खानतलासी अरू कोठामा चलिरहेको बेला म मानसिक रूपमा तयार थिएँ, पक्राउ पर्न सकिन्छ । मेरो साथी नवीन बिभासलाई केही दिनअघि सेनाले पक्राउ गरी बेपत्ता बनाइसकेको थियो । उनी कहाँ छन् ? न आफन्तलाई थाहा थियो, न साथीहरूलाई । उनी तीन महिना सेनाको कठोर हिरासतमा बसेर पछि मुक्त भए । जुन बेला पाँगा सेनाको घेरामा थियो, त्यतिबेला उनी बेपत्तै थिए । त्यो समयमा सेनाको सर्चले कतिलाई बेपत्ता पार्‍यो, कति बेपत्ता भएर पनि फेला परे । केही अझै हराएकै छन् ।
पुसको चिसो जसरी सेनाको टोली अघि बढ्दै थियो । हामी कोठाभित्र डरले कठ्यांग्रिएका थियौं । माओवादी युद्ध उत्कर्ष भएका बेला कांग्रेस, एमाले र माओवादीबीच राजतन्त्रविरुद्ध लाग्ने गोप्य वार्ता चल्दै थियो ।

सेनाको अप्रेसन चलिरहेको बेला पाँगाका कुकुर पनि भुक्न छाडेका थिए । वा, सेनाको बन्दुक देखेर कुकुर पनि डराएका थिए कि ? त्यो त्रासदीमा को विद्यार्थी, कर्मचारी, को सर्वसाधारण भन्ने भेद थिएन । हामी बसेको घरको माथिल्लो कोठामा गणेश घर्ती, पूर्ण राईलगायत अरू साथी बस्थे । त्योभन्दा तल हामी । सेनाको टोली घरमा पसेपछि सरासर माथिल्लो तलामा उक्लियो । सर्च माथिल्लो तलाबाट सुरु भयो । सेनाले हरेक कोठामा पसेर सबै कुरा मसिनो गरी हेर्दै थिए ।
माथिल्लो तलाको सर्च सकिएपछि सेनाको बुट हाम्रो तलामा बज्दै झर्‍यो । यो तलाका पनि सबै कोठा सर्च भइसके । हामीले प्रतीक्षा गरिरहेको घडी आयो । अब हाम्रो पालो थियो । हामी बत्ती नबाली निदाएझैं गरेर बसेका थियौं । त्यो सर्चमा निद्रा होइन, त्रासले बास गरेको थियो । हरेक घरमा खैलाबैला स्पष्ट सुनिन्थ्यो । सेनाको बुटको आवाज नजिकिँदै आयो । र, हाम्रो ढोकामा आएर टक्क अडियो ।
अब के हुने हो ? त्रासबीच मनमा कुरा खेल्दै थिए । त्यही बेला टोलीको कोही बोलेको आवाज आयो । ‘यो ढोका खोलौं साप ?’ यो जवानको आवाज थियो ।
त्यो जवानभन्दा बढी हाकिमले के भन्छ भन्ने प्रतीक्षा हामीलाई थियो । जब ऊ बोल्यो, अचम्म भयो । हामीले सोच्दै नसोचेको कुरा उसको मुखबाट निस्कियो ।
‘ओहो, यो कोठामा सानो बच्चा भएको परिवार बस्दो रहेछ । यो कोठा छोड्दे, सर्च गर्न पर्दैन । हामीलाई देखेर बच्चा डराउला । अर्को घरतिर हिँड,’ यो सेनाको कमान्डरको आवाज थियो ।
उनीहरूको संवाद सुनेर म छक्क परें । कसरी थाहा पाए हाम्रो कोठामा बच्चा छ भनेर ? त्यो कमान्डरको घरमा पनि सानो बच्चा थियो कि ? त्यही भएर उसले हाम्रो कोठा सर्च नगरी बच्चालाई सुत्न दिएको हुनुपर्छ !
पछि थाहा भयो, संयोगले छोराको सानो चप्पल त्यस दिन कोठाबाहिरै छुटेको रहेछ । अरू बेला तीन वर्षको बाबु चप्पल लगाएर कोठाभित्रै आउँथ्यो । उसका चप्पल कोठाभित्रै राखिन्थ्यो । त्यसरात उसका चप्पल बाहिरै छुटेका रहेछन् । र, तिनै एक जोर साना साइजका चप्पल देखेर सेनाले हाम्रो कोठा सर्च नगरेको रहेछ । बाहिर बाबुका चप्पल नभएको भए सेनाले पक्का हाम्रो कोठा सर्च गर्थ्यो । कोठामा सबै खालका किताब र पत्रपत्रिका थिए । त्यही बहानामा म पक्राउ हुने सम्भावना धेरै थियो । सेनाले पक्राउ गरेपछि बेपत्ता पार्ने निश्चित हुन्थ्यो त्यतिबेला । मेरो जिल्ला रुकुम सेनाको हिट लिस्टमा छँदै थियो ।
त्यसबेला पक्कै पनि बन्दुको ताकत धेरै थियो । बन्दुकको अगाडि हामी सबै निरीह थियौं । संकटकालको बेला सेनासँग विवाद गर्नु भनेको सीधै उनीहरूको कब्जामा पर्नु हुन्थ्यो । त्यस दिन मलाई महसुस भयो, कहिलकाहीँ सानो चीजको पनि ठूलो शक्ति हुने रहेछ ! मेरो सानो बच्चा र चप्पलको शक्ति कम थिएन । सानो बाबुका साना एक जोर चप्पलको शक्ति अघि सेनाको बन्दुक पग्लियो । ती केवल चप्पल थिएनन्, ती साना नानीका मायाका प्रतीक थिए । ती हाम्रा लागि सुरक्षाकवच भइदिए । सायद ती चप्पल नभएको भए म पनि साथी नवीनजस्तै केही महिना बेपत्ता भएर निस्कन्थें होला ? ती कठोर दिन, ती कालरात्रि नसम्झूँ भने पनि सम्झनामा आइरहन्छ । साथी नवीनले आफू बेपत्ता भएको समयको ठूलै किताब तयार लेखेका छन् ।

त्यस दिन रातभर सर्च सकेर बिहान आठ बजे सेना ब्यारेक फर्कियो । पाँगावासीको अनुहारमा बादल लागेको थियो । भयले भरिएका आँखा अनिदा थिए । मुखमा मुस्कान हराएको थियो । माथि चन्द्रागिरी डाँडा अँध्यारो देखिन्थ्यो । निरंकुशताका नङ्ग्राले चिथोरेको पाँगा गाउँमा घाउ लागेजस्तो थियो । सेना फर्किसकेपछि मैले ढोका खोलेँ । ढोकाबाहिर बाबुका एक जोर चप्पल देखेँ । मैले हातमा लिएर ती चप्पललाई ढोगेँ । जसरी मान्छेले देउतालाई ढोग्छन् । त्यस दिन ती चप्पल मेरा लागि देउता समान थिए । किनकि हामीलाई तिनले सुरक्षा दिए । अरू बेला बाबुका कलिला खुट्टालाई ढुंगा, काँडाले घोच्नबाट जोगाउने ती चप्पलले संकटकालको बेला सेनाको बन्दुकबाट हामीलाई जोगाए ।
अर्को दिन बिहान मैले श्रीमतीलाई चप्पलको शक्तिबारे बताएँ । उनी एकक्षण बोल्न सकिनन् । उनले चप्पल र बाबुतिर केहीबेर हेरिरहिन् प्रेमपूर्वक । अझै त्रास त छँदै थियो । त्यस दिन हामीलाई चालीस रुपैयाँमा किनेका ती साना चप्पलको औधी माया लाग्यो ।१६ वर्षपछि पनि पाँगा जाँदा सेनाको सर्च र ती एक जोडी चप्पल आँखाअगाडि घुमिरहन्छ ।

Page 18
कोसेली

गान्धी विचारउपर प्रहार !

यस वर्ष महात्मा गान्धीको १ सय ५० औं जन्मजयन्ती । अहिंसात्मक आन्दोलनलाई संसारभर स्थापित गराउने गान्धीका विचारबारे अहिले पनि बहस चलिरहेका छन् ।
- शंकर तिवारी

धर्मान्ध नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गर्नुभन्दा तीन वर्षपहिले सन् १९४६ मा अम्बेडकरले गान्धीसम्बन्धी लेखिएका पुस्तकहरूको बढ्दो संख्यातर्फ इंगित गर्दै यस्तो टिप्पणी गरेका थिए, ‘यी वृद्ध मानिसमाथि लेखिएका पुस्तकहरू देखेर मेरो सातो जान्छ (होस उड्छ) !’ यसरी गान्धीको जीवनकालमै उनीमाथि विद्वत् समुदायको आकर्षणमा उनको जीवनलीला समाप्तिको सात दशकपछि पनि कुनै सुस्तता छाएको छैन, बरु त्यो आकर्षण झन् सघन र तीव्र हुँदै गइरहेको छ ।

दक्षिण अफ्रिकाको लहरो–पहरो
स्टानफोर्ड युनिभर्सिटी प्रेसले सन् २०१५ मा गान्धीसम्बन्धी ‘द साउथ अफ्रिकन गान्धी ः स्ट्रेचर बिअरर अफ इम्पायर’ शीर्षकको पुस्तक प्रकाशित गर्‍यो । दक्षिण अफ्रिकाको दुई भिन्न विश्वविद्यालयमा अलग–अलग विषय समाजशास्त्र र इतिहास प्राध्यापन गर्ने अश्विन देशाई र गोलाम वहेदले उक्त पुस्तक लेखेका थिए । यस पुस्तकले गान्धीको दक्षिण अफ्रिका बसाइका विभिन्न पाटोलाई सूक्ष्म रूपमा प्रकाश पारेको छ ।
सोही क्रममा गान्धीले दक्षिण अफ्रिकी रैथाने/आदिवासीलाई त्यतिबेला प्रयोग गरिने शब्द ‘काफिर’ प्रयोग गरेको खुलस्त पारिएको छ । समयक्रममा शब्दहरूले पनि रङ फेर्छन् । शब्दको भाव र अर्थ बदलिँदै जान्छन् । काफिर शब्द गान्धी दक्षिण अफ्रिकामा रहेको र त्यसपछिको लामो समयसम्म अफ्रिकी कालाहरूलाई सम्बोधन गर्न प्रयोग गर्ने शब्दको रूपमा चल्तीमा थियो । तर अहिले आएर नकारात्मक आशय ग्रहण गर्न पुगेको छ । अफ्रिकी कालाहरू काफिर शब्दलाई अपमानजनक ठान्छन् र काफिर शब्द प्रयोग गर्दा होच्याएको महसुस गर्छन् ।
गान्धी स्वयंले दक्षिण अफ्रिका बसाइका बारेमा ‘सत्याग्रह इन साउथ अफ्रिका’ शीर्षकको पुस्तक लेखेका छन् । त्यो पुस्तकको पहिलो संस्करण सन् १९२८ मै छापिएको थियो । यस पुस्तकमा दक्षिण अफ्रिकी रैथाने अश्वेतहरूको चर्चा गर्दा गान्धीले ‘काफिर’ शब्दको प्रयोग गरेका थिएनन् । तर जब कलेक्टेड वर्क्स अफ महात्मा गान्धी (छोटकरीमा सीडब्लूएमजी) को एक सयवटा अलग–अलग ग्रन्थ तयार पार्दा खोजकर्ताहरू गान्धीले लेखेका/बोलेका अक्षरहरू एकत्रित पार्दा मूल स्रोतमा पुगे । ती मूल स्रोतबाट बिनासम्पादन वा काँटछाट छापिए । दक्षिण अफ्रिका कार्यक्षेत्र बनाएका प्राध्यापकहरूले दक्षिण अफ्रिकी गान्धीका बारेमा पुस्तक लेख्दा पहिले छायामा/ओझेलमा परेको प्रसंग बाहिर आए । उक्त किताबमा चर्चा गरिएको प्रसंगलाई आधार मानेर गान्धीलाई रेसिस्ट (नश्लवादी) को आरोप लगाउँदै २०१८ को डिसेम्बरमा आक्रामा अवस्थित घाना विश्वविद्यालय परिसरमा रहेको महात्मा गान्धीको मूर्ति हटाइयो । यो समाचार सनसनीपूर्ण शैलीमा विश्वभर फैलियो । यो प्रकरण गान्धीको वैचारिकीमाथि गरिएको पछिल्लो र बहुचर्चित आक्रमण हो । गान्धीको त्यो मूर्ति घाना विश्वविद्यालय परिसरमै पुनःस्थापित गरिसकिएको छ ।
२०१९ अक्टोबरमा इन्स्टिच्युट अफ गान्धियन स्टडिज बर्धा महाराष्ट्रका प्रध्यापक डा.सीबीके जोसेफले लेखेको पुस्तक ‘गान्धी इन साउथ अफ्रिका : अर रेसिस्ट अर अ लिबरेटर ?’ भारत र दक्षिण अफ्रिकामा एकैपटक विमोचिन गरियो । उक्त पुस्तकले दक्षिण अफ्रिकी प्रध्यापकहरूले ‘द साउथ अफ्रिकन गान्धी’ पुस्तकमा तथ्यहरूको तोडमोड गरिएको र गान्धीका उद्धरणलाई तलमाथि पारिएको विवरण पेस गरेका छन् । जोसेफ भन्छन्, ‘बृद्धिजीवीहरू खास समयमा अभिव्यक्त भएका लामा उद्धरण र भनाइलाई छोट्याएर र अमिल्दा प्रसंगमा उद्धृत गर्ने आदतको सिकार हुन्छन् ।’
लेखिका अरुन्धती रोयले समेत त्यस्तै गरेकी छन् । अरुन्धतीले ‘द डाक्टर एन्ड द सेन्ट ः द अम्बेडर–गान्धी डिबेट’ मा गल्ती गरेको तर्फ जोसेफले इंगित गरेका हुन् । आखिर गान्धीमाथि उनको हत्याको यतिका वर्षपछि पनि वैचारिक आक्रमण किन भइराख्छ त ? यसका केही गम्भीर कारण छन् । यस्ता आक्रमण गान्धीको जीवनकालदेखि अनवरत रूपमा आजपर्यन्त चलिरहेको छ र यो रोकिनेवालासमेत छैन । यस्ता आक्रमणहरूले गान्धीको विचारको प्रसारण र फैलावटमा थप टेवा पुर्‍याइरहेका छन् । यसबारेमा विस्तृतमा चर्चा गर्नुपहिले दक्षिण अफ्रिकी राष्ट्र घानाको प्रसंग सान्दर्भिक हुन्छ ।

गान्धीको वैचारिक विकास
गुजरातको समुद्र तट पोरबन्दरमा सन् १८६९ मा जन्मेका गान्धी कानुनको उच्च शिक्षा अध्ययनका लागि सन् १८८८ मा लन्डन पुगेका थिए । लन्डनमा रहँदा मनोवैज्ञानिक रूपमा गान्धीले सभ्यताको तहगत संरचनामा युरोपलाई माथि र भारत/इन्डियालाई त्योभन्दा तल राखेका थिए । त्यो उनको प्रारम्भिक बुझाइ थियो । पछि उनले १९०९ मा ‘हिन्द स्वराज’ (इन्डियन होम रुल) पुस्तक लेखेर युरोपेली सभ्यताको जडमा प्रहार गरे । गान्धीले १८९१ मा कानुनी शिक्षा पूरा गरेका थिए । १८९३ मा उनी दक्षिण अफ्रिकी सहर नाटाल पुगे र १९१५ मा मात्र पूर्णकालका लागि उनले अफ्रिका महादेशको बसाइलाई बिट मारे । झन्डै २३ वर्ष गान्धीले दक्षिण अफ्रिकामा बिताएका थिए । अपरिपक्व वकिलको रूपमा त्यहाँ पुगेका उनी समयक्रममा २० औं शताब्दीलाई दिशानिर्देश गर्नसक्ने महात्मामा परिणत भए । दक्षिण अफ्रिका उनको प्रयोग र परीक्षणहरूको भावभूमि थियो । त्यही कर्म थलोले उनलाई मोहनबाट महात्मामा रूपान्तरित गरेको थियो ।
आप्रवासी भारतीय मालिकको निजी वकिलको रूपमा दक्षिण अफ्रिका पुगेका गान्धी केही वर्षमै सिङ्गो आप्रवासी भारतीय समुदायको नेता बन्न पुगे । दक्षिण अफ्रिका त्यसबेला भारतजस्तै बेलायतको उपनिवेश थियो । सरकारी अड्डाहरूमा गोरा र कालालाई दोहोरो व्यवहार गरिन्थ्यो । भारतीय कामदारलाई सरकारले स्वाभाविक रूपमा रैथाने कालाहरू गर्ने दोस्रो दर्जाको सूचीमा राखेको थियो । ब्रिटिस सम्राज्यको नागरिक गान्धीलाई यो कुरा चित्त बुझेको थिएन । १८५७ मा भारतीय नागरिकहरूलाई आफ्ना नागरिकसरह व्यवहार गर्ने निर्णय बेलायत सरकारले गरेको थियो । गान्धीले सरकारले आफू भारतीयहरूलाई रैथाने अफ्रिकी ‘काफिर’ सरह व्यवहार गरिनु असुहाउँदो भएको उल्लेख गर्दै उक्त नियम बदली पाऊँ भनी निवेदन दिए । गान्धीले माग गरेजस्तै दक्षिण अफ्रिकी सरकारले भारतीयलाई एसियाटिक्सअन्तर्गत दोस्रो दर्जा दियो र अफ्रिकी कालाहरू तेस्रो दर्जाका बन्न पुगे ।
विरोधीहरूले अपरिपक्व गान्धीका धारणालाई मात्र आधार मानेर उनको सालिक स्थानान्तरण गरेको देखिन्छ । १९०९ देखियता गान्धीले सबै मानव जाति बराबर भएको धारणा विकास गरिसकेका थिए । त्यसैले यो विरोध एकांकी देखिन्छ । जुन कुरा विरोधीहरूले पनि बौद्धिकस्तरमा स्विकारेको देखिन्छ । त्यसो त गान्धीकै प्रेरणाबाट अहिंसात्मक शैलीमा दक्षिण अफ्रिकालाई उपनिवेशबाट स्वतन्त्रता दिलाएका नेल्सन मण्डेलाले भनेका छन्, ‘गान्धीलाई तत्कालीन सर्न्दभ र समयको कसीमा राखेर मूल्यांकन गर्नु वस्तुनिष्ठ हुन जान्छ ।’ गान्धीले आफ्ना धारणाहरूमा विरोधाभास/मतान्तर देखा परेमा अघिल्लोभन्दा पछिल्ला धारणा आधिकारिक हुनेछ भनेर आफ्नो वैचारिक जगलाई प्रस्ट्याएका थिए । उदाहरणका लागि उनले १९२० मा र १९३० मा एउटै विषयमा अलगअलग राय दिएको भए १९३० को रायलाई आधिकारिक मान्न भनेका थिए ।

मूर्तिबारे गान्धी–धारणा
गान्धी स्वयंलाई मूर्तिमा खास आकर्षण थिएन । फरवरी ११, १९३९ को ‘हरिजन’ पत्रिकामा उनको मूर्ति बनाउन चाहने शुभेच्छुकलाई त्यस्तो फाल्तु कार्यमा नलाग्न आग्रह गर्दै लेख्छन्, ‘माटोले बनेको मानिसमा पच्चीस हजार रुपैयाँ खर्च गरेर माटो वा धातुको मूर्ति बनाउनु भनेको पैसाको बर्बादीबाहेक केही होइन ।’ गान्धीले नचाहेको भए तापनि गान्धीको मूर्ति प्रत्येक ठूला–साना भारतीय सहर वा गाउँको मात्र शोभा बन्न पुगे । यो क्रम भारतबाहिर पनि फैलियो । हालै मात्र बेलायतको पार्लियामेन्ट स्क्वायरमा चर्चिलसँगै गान्धीको समेत ढलोटको मूर्ति स्थापित गरिएको छ ।
दक्षिण अफ्रिकी दिनहरूमा गान्धी अपूर्ण थिए तर समकालीनहरूभन्दा क्रान्तिकारी र प्रगतिशील थिए । गान्धीले विशेषगरी धर्म र सम्प्रदायको जगमा राजनीति गर्न चाहनेहरूको विरोधको सामना आजीवन गरे । उनले त्यही क्रममा शहादत पनि प्राप्त गरे । गान्धी मार्क्सवादीहरूबाट समेत आलोचित भए । अम्बेडकर र गान्धीको शास्त्रार्थलाई उनीहरूका चेलाहरूले अझै टुङ्गोमा पुर्‍याउन दिने संकेतसमेत दिएका छैनन् । गान्धीले जुनसुकै परिवर्तनका लागि अहिंसामा जोड दिए, हिंसाका पक्षपातीले सदैव गान्धीलाई प्रतिरोध गर्ने भइहाले । गान्धी सर्वधर्म समभावमा विश्वास गर्थे । उनको आश्रमको प्रार्थना सभामा मुख्य धर्मग्रन्थहरूबाट लिइएका श्लोकहरू सस्वर वाचन गर्ने परम्परा जीवित नै छ । धार्मिक कट्टरतामा विश्वास राख्नेहरूले गान्धीलाई एक नम्बरको दुस्मन मान्छन् । बहुसंख्यक मुस्लिमहरूलाई धर्मनिरपेक्षताको नाउँमा धेरै भाउ दिएको आरोप गान्धीलाई लगाइन्छ ।

वर्तमान भारतमा गान्धी
हिन्दु परम्परा र विचारलाई श्रेष्ठ ठान्ने विचारधारा अहिले भारतमा हावी भएको छ । राष्ट्रिय स्वयंसेवक संघको नाममा धार्मिक श्रेष्ठताको प्रचार प्रसार गर्न थालेको झन्डै एक शताब्दी पुग्न लागेको बेला भारतमा गान्धीको हत्यारा नाथुराम गोड्सेको मूर्ति बनाएर पुज्न थालिएको छ । त्यति हुँदाहुदै पनि राष्ट्रिय स्वयंसेवक संघको कार्यकर्ता भएर आफ्नो राजनीतिक बाह्रखरी प्रारम्भ गरेका वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्तर्राष्ट्रिय मञ्चमा मात्र होइन राष्ट्रिय मञ्चहरूमा समेत गान्धीको नाम लिन बाध्य हुन्छन् ।
यसै वर्षको संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीलाई हिटलरको नाजी पार्टीसँग तुलना गरे । भाजपाको माउ संस्था आरएसएस गान्धीको हत्यामा संलग्न भएको र गान्धीको रगतले लत्पतिएको पृष्ठभूमिको भनेर मोदीलाई रक्षात्मक हुन बाध्य पारे । यसरी विश्व रंगमञ्चको विशिष्ट थलोमा समेत गान्धी कारण–अकारण बहसको केन्द्रमा पुगिराख्छन् । नरेन्द्र मोदीले इमरान खानलाई जवाफ दिन ‘द न्युयोर्क टाइम्स’ पत्रिकाको अक्टोबर २ अंकमा गान्धीसम्बन्धी अग्रलेख नै लेख्नुपर्‍यो ।
भाजपाको नीति नेहरू र गान्धीलाई सकेसम्म उपेक्षा गर्ने भएकाले पनि मोदीले संसारकै अग्लो मूर्ति आफ्नो गृहनगर गुजरातमा गान्धीको नभएर बल्लभभाइ पटेलको बनाएको दृष्टान्त छ । तर, भारतीय सिनेमाका सेलिब्रेटीहरूसँग साक्षात्कार गर्दै मोदीले गान्धीको १५०औं जन्मजयन्तीका अवसरमा सिनेमा र कलाका विविध पक्षमा गान्धीलाई जोड्न आह्वान गरे । त्यसो त मोदीलाई ‘स्वच्छता अभियान’ भनेर शौचालय र सफाइ अभियानमा गान्धीलाई सीमित पार्न कोसिस गरेको आरोप नलागेको होइन । गान्धीको विश्वव्यापी स्वीकार्यताले गर्दा बगलीमा जे–जे भए तापनि मोदी मुखले भने गान्धीको नाम लिन बाध्य छन् । स्पष्ट रूपमा भन्नुपर्दा वर्तमान भारत गान्धीले चाहेको ‘हिन्द स्वराज भर्सेज सावरकरहरूले चाहेको ‘हिन्दु राज्य’ बीचको वैचारिक टकरावमा फसेको छ ।

नेपालमा गान्धीको चर्चा
आफ्ना विचार र कार्यबाट संसारलाई नै प्रभावित पारेका गान्धीले भारतको उत्तरी छिमेकमा रहेको देश नेपाल प्रभावित हुने नै भयो । बीपी कोइरालाले त्यसको वर्णन आफ्नो ‘आत्मकथा’ र ‘आत्मवृत्तान्त’ मा गरेका छन् । नेपाली कांग्रेस पार्टीको स्थापनामा गान्धीको ठूलो प्रभाव देखा पर्‍यो । गान्धीको सम्मानमा उनको हत्यापश्चात् नेपाली कांग्रेसले आफ्नो मुखपत्र ‘युगवाणी’ मा विशेष अंक प्रकाशित गरेको थियो । एक प्रकारले भन्नुपर्दा १९२० मा नै गान्धीको आह्वानमा भएको असहयोग आन्दोलनमा धेरै नेपालीले भाग लिएका थिए । लाइब्रेरी काण्डमा परी कारबाही भोगेका नवयुवक तुलसीमेहर श्रेष्ठ राणाहरूकै छात्रवृत्ति हात पारेर गान्धीको सावारमति आश्रम पुगेका थिए । तुलसीमेहरले नेपाल फर्केर स्थापना गरेको संस्था चर्खा प्रचारक गुठी नेपालको पहिलो गैरसरकारी संस्था बन्न पुग्यो । सय वर्ष पुरानो यो संस्थालाई बुढ्यौली लागेको छ । त्यतिले मात्र नपुगेर मुद्दा मामिलाले गर्दा राम्रोसँग काम गर्न पनि पाएको छैन । गान्धी आश्रममा पुगेर तालिम लिएर आएका भद्रा घले र उर्मिला उपाध्यायले खोलेका संस्थाहरूलाई समेत बुढ्यौली लागेको छ । यो त भयो गान्धीबाट प्रभावित भई खुलेका केही प्रतिनिधि संस्थाको कुरा । तर यो लेखको ध्येय गान्धी विचारको वैचारिक पाटो भएकाले मूल विषयमै चर्चा गरौं ।
गान्धीको जन्मतिथिमा विश्वभरि कार्यक्रम हुन्छन् । त्यही सेरोफेरोमा लेख विचार टिप्पणीहरू प्रकाशित हुन्छन् । गान्धीको जन्म तिथि र मृत्यु तिथिको आसपासमा छिटपुट मात्रामा नेपालमा उनको चर्चा हुने गर्छ । त्यसको अलावा केही मार्क्सवादी झुकाव भएका विद्वान्हरूले गान्धी विमर्शमा टेवा पुर्‍याइरहेका हुन्छन् । गान्धीलाई आलोचनात्मक चेतका साथ हेर्नेहरूले कि त मार्क्सवादी कि अम्बेडकरको फ्रेमबाट हेर्ने गर्छन् । बनीबनाउ आलोचनालाई उद्धृत गर्ने उपक्रमबाट उनीहरू माथि उठेको पाइँदैन । जबसम्म गान्धीलाई समालोचनात्मक वा त्योभन्दा सम्यक् दृष्टिले हेर्नलाई हामीले गान्धीका मूल रचनालाई/कार्यलाई आधार मान्दैनौं तबसम्म गान्धी विमर्श अपूरो रहिरहन्छ । गान्धीबारे टिप्पणी गर्दा केही वर्षपहिले यशपालको ‘गान्धीवादको शव परीक्षा’ को एकोहोरो सहारा लिनेहरू अहिले आएर बज्ररञ्जन मणिको उद्धरण गर्न लागिपरेका छन् । कम्तीमा मूल रूपमा कन्नडभाषी भारतीय चिन्तक यू यार अनन्थामुर्थीको अन्तिम पुस्तक ‘हिन्दुत्व अर हिन्द स्वराज’ को मात्र अध्ययन गर्ने हो भने पनि गान्धी विमर्शलाई न्याय हुन्थ्यो ।

धर्म र वर्णाश्रम
गान्धीका धर्मका बारेमा स्पष्ट मान्यता थिए । तीन सरल वाक्यमा उनका धर्मसम्बन्धी धारणाको सारलाई खिच्न सकिन्छ ।
१. सबै धर्ममा राम्रा पक्ष भएजस्तै नराम्रा पक्ष पनि छन् । त्यस मानेमा सबै धर्म अपूर्ण छन् ।
२. एउटा अपूर्णताबाट अर्को अपूर्णतामा फाल हान्दैमा (धर्म परिवर्तन गर्दैमा) पूर्णता प्राप्त हुन सक्दैन ।
३. त्यसैले सबैले आ–आफ्नो धर्ममा रहेका अपूर्णतालाई पूर्ण बनाउन त्यही धर्मभित्रै सुधारको
उपाय खोज्नुपर्छ ।
हिन्दु धर्मको वर्णाश्रम व्यवस्थाले समयक्रममा मानिसहरूबीच जुन प्रकारको विभेद थोपार्ने कार्य गर्‍यो, गान्धी त्यसको सदैव विरोधी थिए र जीवनको उत्तरार्द्धमा उनी धेरै प्रस्ट थिए । वर्णाश्रमअनुसार कामको विभाजनको परिकल्पना उनलाई सुन्दर लागेको थियो । तर कालक्रममा जब कामको प्रतिष्ठा हराउँदै गयो र जातीय रूपमा उचनीचको भावना हावी हुन थाल्यो । गान्धी यो कुरा बदल्न चाहन्थे । श्रमको सम्मान गर्ने भएकाले आश्रमको परिसर र शौचालय सफाइमा आफैं अग्रसर हुन्थे । शूद्र वा दलित वा जो कुनै पीडित/दमित व्यक्ति/समुदायलाई गान्धीले ‘हरिजन’ को उपमा दिएका थिए ।
गान्धी दर्शनलाई बुझ्न चाहनेले जोन रस्किनको पुस्तक ‘अनटु द लास्ट’ एकपटक पढ्नैपर्ने हुन्छ । गान्धी यस पुस्तकबाट यति बढी प्रभावित थिए कि उनले यसै पुस्तकको सारलाई अनुवादसमेत गरे र सबैको श्रमको सममूल्य र बराबरी प्रतिष्ठा हुनुपर्छ भन्ने मान्यतामा अडिग रहँदै त्यसको व्यावहारिक प्रयोगका लागि आश्रमको स्थापनासमेत गरे । गान्धी विचार कहिल्यै पनि जड हिन्दुत्वको पक्षपाति थिएन । गान्धी विचारले अनेकान्तवादलाई प्रश्रय दिन्छ ।

दलित र अम्बेडकर
सन् १९३२ मा अंग्रेज सरकारले कम्युनल अवार्डअन्तर्गत दलित पनि समावेश भएको सेड्युल कास्टलाई अलग निर्वाचन क्षेत्र कायम गर्ने प्रस्ताव अघि सार्‍यो । गान्धीले अलग निर्वाचन क्षेत्रले हिन्दु धर्ममा विभाजन हुने र त्यसले भारतीय समाजमा नकरात्मक प्रभाव पार्ने निर्क्योल गरे । गान्धीले सरकारी निर्णयको खिलाफमा अनशन बसे र अलग निर्वाचन क्षेत्रको सट्टा संयुक्त निर्वाचन क्षेत्रमा सहमति भयो । दलित/अल्पसंख्यकलाई सोही बेलादेखि निर्वाचनमा आरक्षणको सिट कायम भएको हो । जुन आजपर्यन्त भारतमा प्रचलनमा छ । अनशन बसेका गान्धीको स्वास्थ्यमा तलबितल परेमा दंगा भड्किने र गान्धी हत्याको आरोप लाग्ने भएकाले अम्बेडकरले ‘पुनः सम्झौतामा’ हस्ताक्षर गर्न पुगे । सरकारले सुरुमा प्रस्ताव गरेकोभन्दा धेरै सिट दलितहरूले आरक्षणको रूपमा पाए ।
गान्धीले दलित समस्यालाई हिन्दु धर्मभित्रको समस्याको रूपमा हेरे । जीवनको आखिरीमा अम्बेडकरले दलित मुक्तिका लागि हिन्दु धर्म नै परित्याग गर्ने नीति अख्तियार गरे । अम्वेडकरले दलित मुक्तिका लागि धर्म परिवर्तन गर्ने सुइँको पाएपछि मुस्लिम र क्रिस्चियन धर्मका अनुयायीसमेत अम्बेडकरलाई आफ्नो धर्ममा सामेल गर्नमा जोडतोडले लागि परेको पाइन्छ । अम्बेडकरले अन्तिममा हिन्दु धर्म परित्याग गरी बौद्ध धर्ममा धर्मान्तरण गरे । गान्धी र अम्बेडकर दुवै दलित मुक्तिका लागि क्रियाशील थिए तर उनीहरूको बाटो अलग थियो । त्यसका लागि अलग्गै लेखमा चर्चा गर्नुपर्छ ।

अन्त्यमा,
सत्य र अहिंसाका पुजारी गान्धीलाई वर्तमान भारतीय संस्थापनले उपेक्षा गरे पनि विश्वले चर्को स्वरमा अंकमाल गर्दै गइरहेको छ । वातावरणीय विनाशले विकास अधकल्चो भइरहको छ । अन्तरधार्मिक समन्वयको आवश्यकता अपरिहार्य भएको छ । गान्धीले समयमा नै यी समस्याका साथै समाधान पनि सुझाएका थिए जो अहिले पनि सान्दर्भिक छन् ।
संयुक्त राष्ट्रसंघले कुनै पनि व्यक्तिको जन्मदिन पारेर दिवस घोषणा गरेको छ भने त्यो गान्धीको जन्मदिन हो । गान्धीको जन्मदिन अक्टोबर २ लाई २००७ मा अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा घोषित गरिएको हो । भारतका लागि गान्धी अन्तर्राष्ट्रिय कूटनीतिक ‘सफ्ट पावर’ भएका छन् ।
गान्धी सामान्य मानिसका रूपमा जन्मेका थिए । उनले आफूले बाँचेको समयमा भोगेका असंख्य प्रश्नलाई मानव सभ्यताको बृहत्तर फ्रेममा राखेर हेर्ने कोसिस गरेका थिए । मानव सभ्यताले सामाना गर्नुपरेका प्रश्नहरूको उठान गर्ने शैलीले उनलाई मौलिक चिन्तक बनायो । मौलिक चिन्तकहरू चौतर्फी आक्रमणको निसाना बन्न पुग्नु कुनै अस्वाभाविक विषय रहेन ।
आज सयभन्दा धेरै देशले गान्धीको तस्बिर अंकित हुलाक टिकट जारी गरेका छन् । गान्धीको नाममा टिकट जारी गर्ने दोस्रो राष्ट्र अमेरिका थियो । अहिले संसारभर उत्तेजित संशोधनवादीहरू इतिहासको परिष्कार गर्न लागिपरेका छन् । गान्धी विचारसमेत त्यसको मारमा परेको छ । उदारवाद र लोकतन्त्रको क्षयीकरण भइरहको वर्तमान विश्वमा गान्धी आशाको मधुरो प्रकाश बनेर सिङ्गो संसारलार्ई प्रदीप्त पारिरहेका छन् ।
@Shankarktm1

कोसेली

घर कहाा पुग्यो ?

- साम्ब ढकाल

दाइ घर कहाा पुग्यो ?
सर घर कहाा पुग्यो ??
भाइ घर कहाा पुग्यो ???
माड्साब सक्किएन घर ????
साम्ब घर कहाा पुग्यो ?????
पुराना छिमेकी— साम्बजी घर कहाा पुग्यो ??????
नयाा छिमेकी— ल न ढकाल सर घर कहाा पुग्यो भन्या ???????

आजभोलि मैले सामना गरिरहेको प्रश्नका जङ्गल हुन् यी
जसलाई मैले पन्छाउन सकिरहेको छैन
न चढ्नै सकिरहेको छु
हरबिहान र प्रत्येक भेटमा
तेर्सिने यिनै प्रश्नका आटव्य जङ्गलभित्र हराउने गरी छिरिरहेको छु
निस्सासिादै निस्कन्छु र मनमनै गम्छु हैन मैले के बनाइरहेको छु ?। !

मैले घर बनाएा कि—
आफन्त गुमाएा
कि इष्टमित्र टाढा बनाएा
बना, बना म छु नि भन्नेहरुलाई
बाटै मोड्नुपर्ने बनाएा
चिनेजति सबै गुमाएा
कहिल्यै आफन्तहरु सम्झना नपरोस्को
गर्तभित्रभित्रै भासिएा
गुरूगम्भीर मुद्रामा छु लौन मैले के
बनाएा !!!???

सापटी पत्याउलान्का सबै नामहरु कुनै बााकी छैनन्
विविध कारणले —
तालाई ठूलो घर किन बनाउनुपर्ने ?
स्यानो यस्सो जस्तासस्ता थिचेर ब्लककै घर बनाए भैहाल्थ्यो
हृया ... छोरी नै छोरी छन् केलाई चाहियो यत्रो घर ?
ए ! ग्रिलवाला त्योसाग पैसा छैन उधारो न दे है न दे !!!
सोचिरहेछु— म कुन समाजमा छु हा ???

म त भूकम्पपीडितको रातो कार्डवाला
राज्यको ऋणैऋणको व्यवस्थाको आश्वासनले आस्वस्त/निःशस्त्र
भएभरको सबै पैसाले भएको घर पनि भुइँसमेत नरहने गरी भत्काएर
बैंकका हरढोका चहार्दै/धाउादा धाउादै
राज्य छ कि छैन सोचको निष्कर्षमा
जागिरे हैसियतको विनिमयमा सञ्चय कोष रित्याउादै
पत्याउने नातेदारका आागन कुर्दै
जीवनभरि ठड्याएको स्वाभिमानको पहाड धस्काउादै
ठाउा कुठाउा ङिच्याउने कुनै कसर बााकी नराखी
चार बिसेक जन्मोत्सवका तैयारीमा
रहेका
आमाबाबुका घााटीमा अड्केको
अन्तिम घुड्को— बाबु हाम्रो घर नबनाउने...?????
श्रीमतीजीको लामो निःश्वास–
कहिलेसम्म हो श्रीमान्ज्यू डेराको
बास ???
जर्जर र भत्केला भत्केलाको पुरानो घर
यसो केहीको धक्कमधक्कामै थर्थराउने र धर्मराउने थोत्रो घर
बलियो घर र मजबुत घरको प्यासमै जिजीविषा तन्किरहेको प्रारब्ध
भोगिरहेको मैले
के बताऊा खै त्यसै बनाएको हैन मैले यो ‘घर’

घर त अधुरै रहृयो रहृयो
न नजिकका साथी नै मेरा वरिपरि छन्
न चिने–जानेका, आफन्त, बन्धुवान्धव नै राम्ररी आातैदेखि बोल्छन्
नाताले सबैभन्दा नजिककै पनि तर्कीतर्की हिाडेकामा
मलाई टीठको चूडान्त अनुभूति छ
अनुहार हेर्ने ऐनाजस्ता हितैषी
भोलि बााच्ने दिनजस्ता इष्टमित्र
मर्दा–पर्दा
सुख–दुःखका आफन्त सबै टाढिएपछि
मैले घर भत्काएा कि बनाएा
बताइदेओ न सुधीजन !

Page 19
कोसेली

पार्वती टेलर्स

- सविता आचार्य

बोल्दाबोल्दै उनका आँखा भरिएर आए । उनका आँखाले, ‘अब त्योभन्दा धेरै बोल्न सक्दिनँ म’ भन्ने भाव व्यक्त गरिरहेको थियो । आँखासँगै उनको मन पनि भरिएर गह्रुंगो भएको थियो ।
मेरो काँधमा अडेस लागेर उनी धेरै बेरसम्म सुँक्कसुँक्क गरिरहिन् । मैले उनले नदेख्ने गरी बिस्तारै आँसु पुछेँ । उनको जस्तै मेरो पनि आँखा र मन दुवै भरिएका थिए ।
करिब दस मिनेटको सन्नाटा र सुँक्कसुँक्कपछि उनले मुख खोलिन्, ‘तपाईंलाई पनि यस्तै भएको भए के गर्नुहुन्थ्यो दिदी ?’ यो कस्तो प्रश्न हो ? म अवाक् भएँ । मसँग उनलाई दिनको लागि जवाफ थिएन । अझ भनौँ, कुनै शब्द नै थिएन । उनले जे भोगेकी थिइन्, त्यो कुरा मेरो कल्पनाभन्दा धेरै बाहिरको कुरा थियो । त्यसैले उनलाई दिनका लागि मसँग कुनै जवाफ थिएन । शब्द थिएन । अनि, म मौन बसेँ ।
आफैँले भोग्दाको पीडा र अरूको पीडा सुनेर कठै ! भन्नुमा आकाश–जमिनको फरक छ भन्ने कुरा मैले त्यही बेला महसुस गरेँ ।
उनले आफैँ भनेकी थिइन्, ‘दिदी मेरोबारेमा कतै लेख्नुपर्‍यो, तपाईंको कार्यक्रममा (साथीसँग मनका कुरा) बजाउनुपर्ने भयो या त कसैलाई भन्नुपर्ने भयो भने अहिले नै नभन्नुस् है ?’
मैले मुन्टो हल्लाएर हुन्छ भनेँ ।
कारण जान्न मन थियो मलाई, त्यसैले सोध्नै लागेकी थिएँ ।
लामो सास फेर्दै उनी बोल्न सुरु गरिन्, ‘तपाईंले अहिले नै मेरोबारेमा कतै भन्नुभयो भने मलाई मान्छेले चिन्छन्, अनि किन भनेको भनेर फेरि ममाथि दुर्व्यवहार गर्न थाल्छन्, त्यसैले अहिले नै नभन्नुस् है ।’
‘अनि पछि भन्दा हुन्छ त ?’
‘अँ, पछि त केही हुँदैन । किनकि, म आफैँ पनि यस्तैयस्तै तालिम लिएर, बोल्न सक्ने हुन्छु, अनि आफूलाई परेको अन्यायको बारेमा बोल्न सक्छु । तर अहिले त मलाई केही कुरा पनि थाहा छैन । कसैलाई केही भन्न पनि सक्दिनँ । कसरी बोल्ने भन्ने पनि थाहा छैन ।’
‘अनि आजको तालिमबाट केही कुरा सिक्यौ त, जसले तिमीलाई बलियो बनाउँछ ?’ सोधेँ ।
उसका आँखा एक्कासि चम्किए । मानौँ अब उसले ठूलै कुरा मलाई सुनाउन तयार भएकी छ । नभन्दै, ऊ आँखा चम्किलो बनाएर, मभन्दा अलि पर सरेर बोल्न थाली ।
‘सिकेँ नि, धेरै कुरा सिकेँ । सबैभन्दा ठूलो कुरा त यी यसरी तपाईंसँग आफ्नो कुरा भन्न तयार भएकी छु । नत्र म अरूको अगाडि मेरो नाम पनि भन्न सक्दिनथेँ । तपाईंसँग तीन दिन बस्दा नै मैले धेरै कुरा सिकेँ । कसरी आफ्नो कुरा भन्ने ? आफूलाई नराम्रो महसुस हुँदा त्यसबाट कसरी बाहिर निस्कने भनेर सिकेँ । तालिम सकिँदासम्म त धेरै सिक्छु ।’
ऊ अझै धेरै कुरा भन्न चाहन्थी मलाई । तर किन हो एक्कासि टक्क रोकिई । अनि पुलुक्क मेरो आँखामा हेरी । उसका आँखा केही छिनअघिका जस्ता चम्किला थिएनन् । ओइलाएर बोट छोड्न लागेको फूलजस्तै भएका थिए !
आँखाको डिलबाट फुत्त आँसु झर्‍यो !
‘रोएर पुग्यो भन्या हैन अघि ?’ सोधेँ ।
आँसु र नाकको पोराबाट हाम फाल्न लागेको पानी एकैपटक पुछ्दै बोली ‘हो ।’
‘अनि ?’
‘रोक्नै सकिनँ ।’
‘किन ?’
‘हिजो तपाईंले हामीलाई सिकाउन खेल्नु भएको नाटक याद आयो, त्यो नाटक, नाटक थियो तर मैले त यही कुरा भोगेको छु नि दिदी, मालिकको छोराबाट ।’
ऊ फेरि निसास्सिई ।
मलाई कुनै सिनेमा हेरेको जस्तो लाग्न थाल्यो । केही बेरअघि रुँदारुँदा थाकेर आफैँले आफैँलाई सम्हालेकी ऊ फेरि रुन थाली । उसको आँसुले मेरो कुम भिज्यो ।

वर्ष १९, पार्वती चौधरी (नाम परिवर्तन) । घर, दाङ । जन्मिएकै साहुको घरमा । उनी जन्मिँदा आमाबुबा, बाजेबजैलगायत सम्पूर्ण परिवार नै साहुको गोठलाई आफ्नो सानो संसार मानेर बसेका रहेछन् । नेपाल सरकारले २०७० साल असार १३ गते मुक्त कम्लहरी राष्ट्र घोषणा गरे पनि २०६५ साल माघ एक गते दाङ मुक्त कमैया जिल्ला घोषणा भैसकेको थियो । सो घोषणापछि उनीहरूको परिवार साहुले दिएको एउटा सानो झुपडीमा बस्न थाले । तर नाम मात्रैको थियो उनीहरूको मुक्ति । पार्वती आफ्नी आमासँगै साहुको घरमा काम गर्न जान्थिन् भने उनका बुबा खेतबारीको काममा ।
केही समयपछि साहुले पार्वतीलाई बिहान–बेलुकाको काम सघाउँछे, दिउँसो पढ्न जान्छे, यसलाई मेरै घरमा राख्छु भन्दै लगे ।
पार्वती खुसीले गद्गद् भइन् । उनको सपना थियो पढेर आफ्नै नामको जमिनमा एउटा सानो छाप्रो बनाउने । साहुको कुरा नसकिँदै आमाको म्याक्सीको फेर समातेर साहुसँगै सधैँका लागि साहुको घरमा बस्न जानका लागि तयार भएको जनाउ उनले दिइन् । आमालाई उनको कुरा पटक्कै मन परेको थिएन । तर, साहुको अगाडि बोल्ने हिम्मत कसको ?
पार्वती सधैँका लागि साहुको घरमा गए पनि परिवारका सदस्यसँग दिनदिनै उसको भेट हुन्थ्यो । हरेक भेटमा आमा सोध्थिन्, ‘आज स्कुल गइनस् ?’ पार्वतीसँग जवाफ हुन्थेन । किनकि, उनलाई घरको कामबाट फुर्सद थिएन । भर्खरै सुत्केरी भएकी साहुकी बुहारी र नातिको स्याहार गर्नु नै उनको मुख्य ड्युटी थियो ।
दिन बित्यो । हप्ता बित्यो । महिना बित्यो । तर, उनको स्कुल जाने दिन आएन । एक दिन मुखै फोरेर डराउँदै साहुलाई भनिन्, ‘मालिक मलाई स्कुल कहिले पठाउने ?’
‘पख् न बुहारी माइत जान्छिन् अनि जालिस् । अहिले तँलाई स्कुल पठाएर नाति र बुहारीको स्याहार कसले गर्छ ?’
मालिकको कुरालाई उनले सहर्ष स्विकारिन् । अनि दिन गन्न थालिन् मालिककी बुहारी माइत जाने । नभन्दै, सुत्केरी भएको पच्चीसौँ दिनमा उनी माइत गइन् । अब भने पार्वती स्कुल जान पाउने भइन् । खाना खाएर हतारहतार घरधन्दा सकिन् अनि भर्‍याङमुनिको आफ्नो बिच्छ्यौनामा पल्टिइन् । त्यो दिन उनको मनमा छुट्टै उत्साह थियो । भोलि कहिले होला भनेर उनी घरी यता घरी उता गर्न थालिन् । कति बेला निदाइन् पत्तो भएन ।
एक्कासि कसैको हात उनको शरीरमा सल्बलाउन थाल्यो ! सुरुमा त उनलाई लाग्यो सपना होला । तर, सपना होला भनेर सोच्न नभ्याउँदै मालिकका छोरा उनीमाथि खनिन लागेको देखिन् तब उनको सपनाको पहाड खस्यो । आफ्नै हातले छुँदा, नुहाउँदा पनि दुख्न थालेका स्तन मालिकका छोराको हातमा परिसकेको थियो । उनी कराउन खोजिन् तर अहँ कराउन सकिनन् । उनको मुख थुनिएको थियो । आफूभन्दा ठूलो मान्छेबाट कसरी फुत्केर भाग्ने ! उनले कुनै उपाय देखिनन् । भगवान् पुकार्नुको विकल्प थिएन उनमा । भन्छन् नि कोही नहुनेको भगवान् हुन्छन् भनेर ! त्यही बेला भर्‍याङबाट कोही ओर्लिंदै गरेको आवाज उनको कानमा प‍र्‍यो । उनको मात्रै हैन मालिकको छोराको कानमा पनि प‍र्‍यो ।
‘म आएको कुरा कसैलाई भनिस् भने तँलाई मारेर फाल्दिन्छु ।’ यति भनेर ऊ अँध्यारोमा बिलायो ।

मालिकलाई उनको छोराले गरेको घीनलाग्दो व्यवहारको बारेमा भन्ने हिम्मत उनले जुटाउन धेरै प्रयास गरिन् तर अहँ सक्दै सकिनन् । आमालाई त ‘भन्न सक्छु’ भनेर हजारौँपटक मुख आँ गरिन् तर भन्न सकिनन् । खै किन सकिनन् उनी आफैँलाई पनि थाहा छैन । त्यसपछि हरेक दिन कुनै न कुनै बहानामा उनलाई मालिकको छोराले आफ्नो इच्छाअनुसार छुन थाल्यो । उसले जति नै नगर्नू भने पनि मानेन । उनलाई भर्‍याङमुनि सुत्नै मन लाग्न छोड्यो । भर्खरै पलाउन थालेकी उनी हरेक दिन निमोठिन थालिन् । उनलाई आफ्नै जीवन देखेर घीन लाग्न थाल्यो । आफैँले आफैँलाई धिक्कार्न थालिन् । मालिकको छोरालाई देख्दा रिसको पारो ह्वात्तै बढ्थ्यो । तर, अहँ मुखबाट कुनै शब्द निस्किँदैनथ्यो ।
केही भन्न खोजे पनि धम्कीपूर्ण आवाज निस्किहाल्थ्यो, ‘कसैलाई भनिस् भने मारेर फाल्दिन्छु ।’ अझ उसलाई अर्को त्योभन्दा ठूलो डर त परिवारलाई नै केही गर्दिन्छन् कि भन्ने थियो । त्यही डरले पनि बोल्ने हिम्मत जुटाउनै सकिनन् उनले ।
यति फरर भनेर उनी शान्त भइन् । मानौँ समुद्रमा छाल आउन रोकियो । केही बेरको सन्नाटापछि लामो सास फेरिन् अनि मुसुक्क हाँस्दै मतिर हेरिन् । म पनि जवाफमा मुसुक्क हाँसिदिएँ । अनि उनी बोल्न थालिन् ।
‘तपाईंलाई त कथाजस्तै लाग्यो होला है दिदी ? मैले केही बढाएर भनेको छैन । अझ कति कुरा त सम्झिन मन लाग्दैन मलाई । के गर्ने हामी गरिबको त कर्मै यस्तै रैछ भनेर चित्त बुझाउँछु ।’
उनी बोल्दै थिइन्, मैले बीचैमा रोकेर भनेँ, ‘एउटा कुरा सोधौँ ?’
‘सोध्नुस् न...’
‘मालिकको छोरालाई उसले तिमीमाथि गरेको दुर्व्यवहारको सजाय दिनुपर्छजस्तो लाग्दैन ?’
‘लाग्छ नि, तर अब मेरो कुरा कसले
पत्याउँछ र ?’
‘मैले त पत्याए नि !’
‘तपाईंले पत्याएर के हुन्छ ? जसले मेरो कुरा सुन्नुपर्ने हो उनीहरूले पो सुन्नुपर्‍यो ।’
‘अनि के गर्ने ? त्यसलाई त्यत्तिकै छोड्ने ?’
‘मैले त बिर्सिसकेँ अब ।’
‘अनि आज किन भन्यौ त ?’
‘खै किन–किन मनको बह पोख्न मन लाग्यो, कसैलाई भन्न नसकेको अनि भन्न मन नलागेको कुरा तपाईंलाई भन्न मन लाग्यो । तर, मैले सबै पुराना कुरा बिर्सेर अगाडि बढिसकेँ । मलाई फेरि फर्केर त्यही कुरा कोट्याएर आफूलाई दुःखी बनाउनु छैन ।’
यति भनेर आफूले जितेको जस्तो गरेर
मतिर हेरिन् ।
‘अब के गर्छौ त ?’ मैले फेरि सोधेँ ।
‘यो तालिम सकेर सिलाइकटाइको तालिम लिन्छु । मुक्त कम्लहरीका लागि एउटा संस्थाले तालिम दिन लागेको छ रे, मेरो पनि नाम लेख्या छ त्यसमा । सिलाइ–कटाइ सिकेपछि त आफैँले काम सुरु गर्छु अनि कसैको घरमा काम गर्न जानुपर्दैन, बरु मेरैमा आउँछन् मान्छे लुगा सिलाउने काम लिएर ।’
यति भनिसक्दा उनी एकदमै खुसी देखिएकी थिइन्, युद्ध जितेको सिपाहीजस्तो । अघिसम्म रोएकी उनलाई खै कुन कुराले यति शक्ति दियो थाहा छैन मलाई । तर, जे भए पनि उनलाई खुसी देखेर उनीसँगै खुसी भए म पनि । तर, खै किन हो ऊ कोठाबाट निस्केपछि भने मन अँध्यारो भयो । आफूले भोगेको दुर्व्यवहार पनि उनी सजिलै हाँसीहाँसी पचाउन सफल भएकी छन् । आउने भविष्यलाई लिएर मख्ख छिन् ।
आज पाँच वर्षपछि उनको बारेमा लेख्दै गर्दा, पाँच वर्षपहिले मेरो कोठाबाट निस्किँदै गर्दाको जस्तै खुसी देखिन्थिन् उनी । सिलाइ–कटाइको तालिम लिएर आफ्नै टेलर्स खोलेर बसेकी छन् । दोकानको नाम आफ्नै नामबाट फुराएकी छन् : पार्वती टेलर्स ।
Twitter@ACSabita

कोसेली

एकल पुरुषका दुःख

- जेबी दर्लामी

तीन वर्ष पूरा भयो मैले एकल जीवन बिताएको । २०७३ सालको मंसिरमा मैले मेरी जीवनसंगिनीलाई सदाका लागि गुमाएँ । जुन महिनामा बिहेको सबभन्दा बढी लगन परेको हुन्छ, त्यही महिनामा मचाहिँ आफ्नी प्रियसीसँग बिछोडिएको थिएँ । त्यसयताका यी तीन वर्ष कसरी बिताइयो, त्यसको हिसाब गर्ने बल मसित छैन । सम्झँदा कुनै दुःस्वप्नमा बाँचिरहेको छु कि जस्तो लाग्छ ।
जिन्दगी जसरी पनि बिताउन सकिन्छ । तर, यो लोकाचार भन्ने चीज बडो अप्ठेरो हुँदो रहेछ । बितेका यी तीन वर्षमा मैले राम्ररी जान्ने मौका पाएँ । एकजना चिनजानका साथी विदेशतिर बस्थ्यो । उसले हरेक दिन आफ्नी श्रीमतीलाई फोन गरेर गाली गर्दोरहेछ । भन्दो रहेछ, ‘स्वास्नी मरेका राँडाखुँडाहरू छन् क्यारे, त्यतै लठारिएर बसेकी होलिस् नि ?’
दिदीबहिनीको समूह हुँदै यो कुरा मेरा कानमा जुन दिन परे, मलाई धेरै दिनसम्म ऐठन परेजस्तो भएँ ।
पछि त्यो साथी घरमा आयो । ऊ आएपछि हरेक दिन त्यो घरमा झगडा हुन थाल्यो । उसले स्वास्नी र आफ्ना तीन छोराछोरीलाई निर्घात कुटपिट गर्न थाल्यो । ‘नाठो’ भन्ने शब्द हरेकपटकको झगडामा त्यसले आफ्नो मुखमा ल्यायो । त्यो शब्द कसका प्रति लक्षित थियो भन्ने यकिन नभए पनि मैले आफूलाई नै भनेको ठानें ।
दुई–तीनपटक त साथी प्रहरी चौकीमा पनि पुग्यो । एकाधपटक हिरासतमा पनि बस्यो । तर, उसको झगडा र हातपात गर्ने बानी कहिल्यै गएन । अहिले पनि अति भएपछि कहिलेकाहीँ स्वास्नीचाहिँले प्रतिकार गर्छे । त्यसपछि उसको स्वरले पूरै टोल थर्किन्छ, ‘नाठाको बल पाएर मलाई हात फर्काउने भइस् तँ ?’ एकपटक हैन, पटक–पटक उसले यही वाक्य दोहोर्‍याएर टोल उचाल्छ । मेरै नाम नलिए तापनि उसले सुनाएको मलाई नै हो भन्ने आभासले मलाई रातभर निद्रा लाग्न दिँदैन । कता–कता दिदीबहिनीहरूसँग बोल्न पनि एकप्रकारको हीनताबोध, लज्जाबोध अथवा अपराधबोध हुन थालेको छ ।
नवपरिचित हरेक साथीहरू घरठेगाना सोध्दै जाँदा ‘म्याडमले के गर्नुहुन्छ नि ?’ भन्ने प्रश्नमा आएर रोकिन्छन् । म एकछिन मौन हुन्छु र आफूसितै बिछोडिएको आफ्नो जिन्दगीको साँचो कथा सुनाउँछु । ‘बिहे त गर्नुपर्छ’ उनीहरू भन्छन् । अझ आत्मीय बनेका साथीहरू त बीच बजार, चोक या सेवाग्राहीको भीड लागेको कार्यालय या पसल पनि भन्दैनन् । उनीहरूले चर्को स्वरमा सुझाव दिन्छन्, ‘बिहे त जसरी पनि गर्नुपर्छ दोस्त । बैंस छउन्जेल त यसोउसो पैसा खर्च गरेर पनि किन्न पाइन्छ, बुढेसकालका लागि त स्वास्नी नै चाहिन्छ ।’ उनीहरूको कुरा सुन्दा यस्तो लाग्छ, श्रीमती नहुनेहरूले आफ््नो शारीरिक आवश्यकता यसरी नै पूरा गरिरहेका छन् । अनि कल्पना गर्छु, के दुनियाँका सबै मानिसले एकल पुरुषलाई यसरी नै हेरेका हुन्छन् ?
प्रायः सुनिन्छ, श्रीमान् मरेको स्वास्नीमान्छे जीवनभर दोस्रो बिहे नगरेर बस्न सक्छन् तर लोग्नेमान्छेले त श्रीमती मरेको वर्ष दिन नपुग्दै अर्को बिहे गर्न सक्छ । म आफैंले भोगेको अनुभव कस्तो रहृयो भने, दोस्रो बिहे गर्नु त्यति सजिलो छैन लोग्नेमान्छेलाई पनि । अझ मजस्तो बहकाउ प्राणीलाई त झनै सकस छ । बिहेको कल्पनाभन्दा त्यसपछि आउने परिणाम सोचेर नै दिमाग खराब भइदिन्छ । जस्तो, मेरो हकमा हुर्किँदै गरेका दुई छोराहरू छन् । श्रीमतीको रूपमा यी छोराहरूलाई आफ्नै सम्झेर स्नेह गर्ने मान्छे आइन् भने त ठीकै होला तर त्यस विपरीत भइदियो भने के होला ? मानौं, एकदमै स्नेही महिला हाम्रो परिवारमा आइन् रे ! तर, छोराहरूले सौतेनी आमा त हो नि भन्ने आग्रह सधैं मनमा पाले भने के होला ? मुटुका टुक्राजस्ता मेरा छोराहरू मैबाट टाढिए भने के होला ? श्रीमती गुमाएर दुवै हातविहीनजस्तो बनेको मजस्तो भावुक जीवले फेरि छोराहरू गुमाउनुको पीडा कसरी सहन सक्ला ?
यस्ता अनेकन प्रश्न जेलिएका छन् जसलाई सुल्झाउने उपक्रममा बिहे भन्ने शब्द नै विरानो बन्दै जाँदोरहेछ ।
पहिले–पहिले हरेक पाइलामा महसुस गर्ने ठक्कर अहिले केही कम भएको छ । असमयमै श्रीमती गुमाउनुको क्षतिपूर्ति त कसरी पो हुन सक्छ र ? उकुच पल्टेको घाउजस्तो बन्दै जाँदोरहेछ यो पीडा । झन्पछि झन् असहृय भएर दुख्ने । जब–जब आफ्नी प्रियसीको अनुहार सम्झन्छु तब–तब छातीको गहिरो चोट भर्खरै लागेजस्तै दुख्छ । कतिले तीन वर्ष भइसक्यो भन्दै सान्त्वना दिने प्रयास गर्दा मेरो मनले चाहिँ भर्खर त तीन वर्ष पुगेको छ भन्ने सोच्छ ।
कतै पिकनिक या कार्यक्रमहरूमा जाँदा युगल जोडीहरूले फोटो खिचिदिन माग्छन् । अझ खुबै फोटोग्राफीको रहरले किनेको डिजिटल क्यामेरा त मेरा लागि घाँडो नै बनेको थियो । एक समय त यो सेमिप्रोफेसनल क्यामेरालाई बेच्ने निर्णयमा पुगेको पनि थिएँ । उनीहरूले मेरो एकल अवस्थाको मनोदशा कल्पना गर्ने कुरै भएन । गर्न पनि नपरोस् । तर, सुरु–सुरुमा उनीहरूले एकअर्कामा टाँस्सिएर फोटो खिचिदेऊ भन्दा मलाई गिज्याए कि भन्ने लाग्थ्यो । त्यो पीडा पनि अब कम हुँदै गएको छ ।
एकल पुरुष बनेर समाजमा लोकलाजबिना जिउन सास्ती नै छ । अनैतिकताको हिलोमा डुबिरहेको समाजमा पनि हरेक पाइलामा नैतिकताको कसीमा उभिएर जवाफदेही हुनुपर्छ । आफू असल हुनुको प्रमाण चोक–चोकमा पेस गर्नुपर्छ ।
कहिलेकाहीँ बिरामी परेर ओछ्यानमा पर्नुपर्दा कता–कता एक्लो महसुस हुनेगर्छ । आफैं पानी तताएर पिउनसम्म नसक्ने अवस्थामा हुँदा बिहेको अथवा लोग्नेस्वास्नी हुनुको अर्थ बोध हुन्छ । अझ खाना पकाउने काम त हरेक लोग्नेमान्छेको कमजोरी नै हो क्या र ! तर, दुःखमा मात्र श्रीमतीको अस्तित्व स्वीकार गर्ने रोगबाट म मुक्त छु ।
उमेरको आधा बाटोमा अड्तीस वर्षे जीवन घिसारिरहँदा बिहे अब मेरा लागि कुनै सुखद कल्पना रहेन । गृहस्थ हुनुको सम्पूर्ण अवस्था भोगिसकेपछि त्यसको मोह पनि अब कतै बाँकी छैन । अब त यस्तो लाग्छ, यो उमेरमा आएर बिहे भन्ने लोकाचार गरे पनि सुख छैन, नगरे पनि सुख छैन । अथवा जसरी पनि दुःख छ । जे गरे फनि दुःख छ ।
[email protected]

Page 20
कोसेली

रुकुम घुम्ने मौसम

- महेश केसी

खुल्दै गरेको आकाश अनि रसिलो प्रकृति । जब भदौ सकिन्छ, बर्खा पनि सकिन्छ । जब सूर्यको न्यानो किरण धरतीमा एकनासले पर्छ तब जगत् चम्किलो देखिन्छ । मायावी देखिन्छ । शरद याम नै एउटा मायावी, प्रेमिल र गजबको मौसम हो । यही समय रुकुम घुम्न सबभन्दा उपयुक्त हुन्छ ।
साविक रुकुमलाई संघीयतापछि दुईवटा जिल्ला बनाइयो । रुकुम पूर्व र पश्चिम । प्राशासनिक विभाजन भए पनि यहाँका जनमनको भावनात्मक सम्बन्ध अहिले पनि उस्तै छ । हिमालसँगै उच्च पहाड र होचा थुम्काहरूका साथै समथर फाँट पनि रहेको रुकुमको भू–बनोटमा विविधता छ । समुद्र सतहबाट ७ सय ५४ मिटरको चौरजहारीको फाँटदेखि ३ हजार मिटरको पुथा हिमालय क्षेत्र, सांस्कृतिक र भौगोलिक विविधताका साथै रुकुमेली मौलिक जीवनशैलीसँग अन्तरंग हुँदै घुमघामको मजा नै छुट्टै हुन्छ ।
रुकुम पूर्वका सिस्ने, पुथा र चुरेन हिमालको फेदीबाट बगेर आउने सानीभेरी नदीको समीपमा रहेको सुन्दर थुम्कोमा अवस्थित रुकुम पूर्वको सदरमुकाम रुकुमकोट पनि सुन्दर पर्यटकीय स्थल हो । यहाँ रहेको दुर्लभ कमल पाइने कमल तालले जो कोहीको पनि मन लोभ्याउँछ । त्यस्तै पूर्वतिर घुमघाम गर्ने हो भने रुकुम भ्रमण थप सार्थक र रमाइलो हुन सक्छ । मगर जातिको बाहुल्य रहेको पूर्वका पुथाउत्तरगंगा र भुमे गाउँपालिकाका विभिन्न ग्रामीण बस्तीहरू घुम्दै ढोरपाटन सिकार आरक्ष क्षेत्रसम्म पुगेर उतैबाट बागलुङ हुँदै म्याग्दी र पर्वतबाट कास्की पोखरासम्मको योजना बनाए पूर्वी रुकुमको भ्रमण अत्यन्त सार्थक हुन सक्छ ।
सिस्ने, पुथा र चुरेन हिमाल अनि धौलागिरी हिमशृंखलाहरूको मनोरम दृश्यावलोकन गर्दै पूर्वी रुकुमका पुथाउत्तरगंगा गाउँपालिकाअन्तर्गतका मैकोट, हुकाम, राङसी, तकसेरा र कोलका सुन्दर मगर बस्तीहरू घुम्न यो बेला खुबै रमाइलो हुने पुथाउत्तरगंगा गाउँपालिकाका राजेश बुढामगर बताउँछन् । ‘बर्खे झरी निख्रिएपछिको शरद याममा पूर्वी रुकुमका उच्च लेकाली पाटनहरू घुम्न सके स्वर्गीय आनन्द प्राप्त हुन्छ ।’ उनी भन्छन्, ‘अग्ला लेकहरूमा सयौं प्रजातिका बुकी फूलहरूले लेकाली क्षेत्र यो बेला एउटा बगैंचाजस्तै देखिन्छ ।’
पश्चिम रुकुमको सदरमुकाम मुसीकोट नगरपालिकाको खलंगा बजारलाई केन्द्र बनाएर यहाँ रहेको मुसीकोट डाँडा, तत्कालीन माओवादी सशस्त्र युद्धताका चर्चामा रहेको खारा ब्यारेक, खारागाउँ र साँखको पापिनी दह घुम्न सकिन्छ । मुसीकोटबाट झन्डै चार किलोमिटरमाथि पहाड चढेपछि जन्ती डाँडा पुग्न सकिन्छ जहाँबाट रुकुमको पूरा भूगोलको अवलोकन गर्न सकिन्छ । शरद याममा खुलेको मौसममा यस डाँडाबाट रुकुमका सिस्ने, पुथा र चुरेन हिमालका साथै माछापुच्छ्रे हिमशृंखलासमेत देख्न सकिन्छ । साथै यस डाँडाबाट रुकुमलाई बीच बनाएर बग्ने सानीभेरीको सुन्दर नागबेली दृश्यसमेत अवलोकन गर्न सकिन्छ । मुसीकोटका चन्द्रबहादुर केसी भन्छन्, ‘मुसीकोट डाँडा रुकुम हेर्ने भ्यु टावर हो ।’
चौरहजारीलाई ‘रुकुमको तराई’ पनि भनिन्छ । मध्यपहाडी लोकमार्गबाट रुकुम प्रवेश गरिने चौरजहारी नगरपालिका हुँदै मध्यपहाडी लोकमार्ग रुकुमको पूर्वतर्फ अघि बढ्छ । सरकारी योजनामा बनाउने भनिएको १० मेगा सिटीमा चौरहजारी पनि एक हो । चौरजहारीमा विमानस्थल छ, यसकारण यहाँबाट जाजरकोट र डोल्पा जान पनि धेरैले यो उपत्यकालाई केन्द्र बनाउँछन् ।
रुकुम पश्चिमको एउटा मुख्य पर्यटकीय गन्तव्य हो, स्यार्पु ताल । कर्णाली प्रदेशका ठूला तालहरूमध्येको एक स्यार्पु ताल यतिबेला डम्म भएर भरिएको हुन्छ । बाँफीकोट गाउँपालिकामा पर्ने यो तालमा स्थानीय माछाको स्वाद लिँदै डुंगामा सयर गर्न सकिन्छ । यहाँबाट सदरमुकाम मुसीकोटको खलंगा बजार १९ किलोमिटरको दूरीमा मात्रै पर्ने भएकाले स्यार्पु ताल घुमेर बास बस्न सदरमुकाम फर्किन सकिन्छ अथवा त्यहीं स्थानीय घरमै बास बस्न वा होटलहरूमा बस्न सकिन्छ तर सदरमुकाममा जस्ता व्यवस्थित होटल भने यहाँ उपलब्ध छैनन् ।
बर्खे झरीपछि हरित पर्यावरण र रसिला खोलानालाले रुकुमलाई रमणीय बनाउँछन् । बिस्तारै चिसो बढेपछि भने उपल्लो थलोतिर हिउँ पर्न थाल्ने हुनाले घुमाइ स्वादको नहुन सक्छ । राप्ती लोकमार्ग हुँदै दाङबाट सल्यान भएर पनि रुकुम आउन सकिन्छ भने पोखराबाट बागलुङ हुँदै मध्यपहाडी लोकमागबाट पनि रुकुम पुग्न सकिन्छ । साथै पश्चिमबाट सुर्खेत, जाजरकोट हुँदै पनि रुकुम पुग्न सकिन्छ । यसबाहेक रुकुम पुग्न सहज यात्रा बनेको हवाई यात्रा हो । रुकुम पश्चिमको सदरमुकाम सल्ले र चौरजहारीमा गरेर दुईवटा विमानस्थल छन् । सातामा एक–एक दिन काठमाडौं र नेपालगन्जबाट नेपाल वायु सेवा निगमले हवाई सेवा उपलब्ध गराउँछ ।
विकासको उज्यालो अझै रुकुमका सबै गाउँबस्तीमा पुग्न सकेको छैन । राप्ती र मध्यपहाडी लोकमार्गबाहेक अरू ग्रामीण सडकहरूको अवस्था सजिलो छैन । सरकारले तय गरेको भ्रमण वर्ष २०२० को त यहाँ कुनै चहलपहल छैन । घुमघामका लागि रुकुम पनि एउटा गन्तव्य हुन सक्छ भनेर प्रचार–प्रसार जरुरी छ ।

कोसेली

भोला काका

डोरीमा धोती सुकाएको देख्दा झसंग भएँ र आफैंलाई सोधेँ, ‘के उनी फेरि गाउँ फर्किए ?’ भोला काकाको विम्ब मेरो मस्तिष्कबाट कहिल्यै हराउन सकेन ।
- फणीन्द्र संगम

भोला गाउँबाट भागेछ,’ सिकुवामा नाम्लो पछार्दै बुबाले भन्नुभयो ।
उहाँको अनुहार सधैंभन्दा बढी रातो देखिन्थ्यो । हातमा मैलो ढाकाटोपी अँठ्याउँदा कपाल लछप्पै भिजेका थिए, पसिनाले ।
त्यतिन्जेलमा लोटामा भरि पानी लिएर आमा बाहिर निस्किसक्नुभएको थियो । खाटमा बस्दै बुबाले घटघटी एकै झमटमा पानी रित्याउनुभयो । घाँसको भारी बोकेर आधा घण्टाको बाटो हिँड्नुपर्दा तिर्खाले खरिनुभएको थियो सायद ।
‘हो र ? कहिले ?’ आमाको आश्चर्यमिश्रित प्रश्न ।
‘आज बिहानै ! भालेको डाँकमा ।’
सोचेँ– ‘त्यै भ’र पो, हाम्रोमा भा’को भित्तेघडी झिकेर लगेको र’छ ।’ बेलुका निकैबेर गफिएका भोला काकाले भित्तामा झुन्ड्याएको घडी झिकेर लगेको रहस्य बल्ल बुझेँ मैले ।
भोला काका कहिले हाम्रो गाउँमा भित्रिए, मलाई यकिन छैन । इलाम सदरमुकामनजिकै भए पनि बिजुली र गाडीको सुविधाबाट वञ्चित– साङ्गरुम्बा । सदरमुकामदेखि गाउँको दूरी झन्डै दुई/अढाई घण्टा पैदल । भोला काकाले किन हाम्रो गाउँ नै रोजे होला ? यही प्रश्नले निकै हानेको थियो मलाई ।
जे होस्, भोला काका साङ्गरुम्बा आए । उनी आएको केही दिनमा नै गाउँमा नयाँ सिरक बन्न थाले । बाक्लाबाक्ला डसना तयार भए । बेग्लै चहलपहल भित्रियो ।
धुनिया अर्थात्, सिरक–डसना बनाउने शिल्पी । बुबाले प्रस्ट्याएपछि धुनिया शब्द नै मैले पहिलोपटक सुनेको हुँ । भोला काकाको छोरा थियो, शर्मा । बाउछोराको आश्रय थियो, हाम्रै घरको एक कोठा । केही दिनपछि गाउँमा अरू धुनिया पनि थपिए— शम्भु, छोटेलाल... ।
गाउँलेहरूमा एकाएक नयाँ सिरक बनाउने लहर नै चल्यो । बिदाको दिन म सिरक बनाएको हेर्थें । दुई–तीनवटा मान्द्रो बिछ्याएर त्यसमाथि थुपारिएको रुवाको रासलाई खलखली हुन्जेल पिट्थ्यो शर्मा । रुवा कुट्ने लौरो चिल्लो हुन्थ्यो । बेलुका थन्क्याउने बेला त्यसलाई माया गरेर तेल लगाइदिन्थ्यो अनि आफ्नो कपालमा पुछ्थ्यो । भोला काका कुटिसकेको रुवालाई आफ्नै साधनमा फिट्थे । मोटो धागो कसिएको, गितारजस्तो देखिने धनुषमा जिस्ता (दुईपट्टि गाँठो निस्केको मुंग्रो) चलाएको हेर्न खुब मजा आउँथ्यो ।
सिरक बनाउने अनौठो साधन देखेपछि मैले भोला काकालाई थप जिज्ञासा राखेँ । ‘यो लामो धागोजस्तो छ नि पहेँलो, ऊँटको नसा हो । कहिले चुटिँदैन,’ बुढीऔंला र चोरऔंलाले त्यही नसा तन्काउँदै उनी भन्थे, ‘यसले त ट्रेनलाई पनि तानिदिन्छ ।’
ट्रेन तान्ने ऊँटको नसा ? म छक्क पर्थें । यति बलियो नसा बोकेर हिँड्ने ऊँट कस्तो होला भन्ने जिज्ञासाले फेरि अत्याउँथ्यो मलाई । किताबका पानामा निर्जीव ऊँट त देखेको थिएँ, तर उसको चाल हेर्न पाएको थिइनँ । किनकि गाउँमा कतै टीभी थिएन ।

घर नजिकै थियो साङ्गरुम्बा माध्यमिक विद्यालय । अलिअलि अंग्रेजी मिसाएर बोल्ने भोला काकाले स्कुलका सरहरूसँग समेत दोस्ती जमाइसकेका थिए । कतिसम्म भने डाँडागाउँका पुण्य काकासँग त उनले मीत नै लगाइदिए ।
एकपटक घर जान्छु भनेर हिँडेका काका झन्डै एक हप्तापछि मात्रै फर्किए । यसपटक उनी मात्रै आएनन्, साथमा थियो नयाँ हिरो साइकल । मैले निद्रा नलागुन्जेल सुमसुम्याइरहेँ । घन्टी बजाइरहेँ । ‘बेटा, तलाईं म भोलि स्कुलको गिरानमा लगेर सात फन्का घुमाइदिन्छु, अहिले सुत्,’ काकाले यसो भन्दा मलाई कति बेला बिहान होलाझैं भएको थियो ।
त्यस दिन मेरो ओछ्यानमा बिहान छिट्टै भित्रियो । दिनभर पढाइमा ध्यान गएन । अन्तिम क्लास नभए पनि हुन्थ्यो भन्ने लागिरहेको थियो । किनकि भोला काकासँग साइकल चढ्नु थियो । छुट्टी हुनासाथ घर पुगेर कपडा फेरेँ र हुर्रिंदै खेल मैदान पुगेँ । जहाँ गाउँका दाइहरू प्रायः फुटबल खेल्थे । हामी भने मोजा वा चप्पल काटेर बनाइएको ‘गोल’ मै रमाउँथ्यौं । त्यस दिन भने सबै भोला काकाको साइकलमा केन्द्रित थिए ।
मैदानको वरिपरि साइकलमा चक्कर मारिरहेका काकालाई हेर्नेको सानोतिनो भीड नै लागिसकेको रहेछ । उनी थकितजस्तो देखिए र साइकलको स्ट्यान्ड लगाए ।
‘काका, म पनि साइकल चढ्ने,’ छेउमा पुगेर मैले भनेँ ।
‘भरखर आइपुगिस् बेटा । ल, म तलाईं काँधमा चढाएर ह्यान्डिल नसमाई कुदाइदिन्छु ।’ स्ट्यान्डलाई दाहिने खुट्टाले पछाडि धकेले र मलाई चढाउन तयार भए ।
‘मेरो काँधमा चढ्,’ उनी निहुरिनासाथ म फुत्त काँधमा चढिहालेँ । साइकल हाँक्दा सुरुमा त अत्तालिएको थिएँ । तीन–चार राउन्ड घुमाइसक्दा आफैं उडेको अनुभूत गर्न थालेँ । जसरी रुवा फिट्दा शर्माले आँगनभरि रुवा उडाउँथ्यो, त्यही रुवामा आफूलाई रूपान्तरित गरेँ । बीचबीचमा काका भन्थे, ‘आँखा चिम्ली त अब, स्वर्गै पुगेजस्तो मज्जा हुन्छ ।’
म आँखा चिम्लन्थेँ । स्वर्ग त पुगिनँ तर त्यो क्षण भोला काका नै मेरा लागि स्वर्गभन्दा कम लागेनन् । उनैले गाउँमा पहिलोपटक साइकल ल्याए । मैले जीवनमै पहिलोपटक देखेको साइकल उनकै थियो । त्यही साइकल पहिलोपटक कुदाउन पाएँ ।

इलाम बजारमा दुइटा फिल्म हल थिए— राज भिडियो सिनेमा हल र पञ्चकन्या हाइभिजन । बिहीबारे हटियाको दिन बजार जाँदा भोला काका कहिलेकाहीँ फिल्म हेरेर आउँदा रहेछन् । हामीलाई कहानीका टुक्राटाक्री सुनाउँथे र रोमाञ्चित बनाउँथे ।
काकाबाट फिल्मको कहानी सुनेपछि हुन सक्छ, ठूल्दाइमा पनि सिनेमाको रस बस्यो । बजार गएको बेला प्रायः फिल्म हेरेरै आउँथे उनी । कहानी भने भोलिपल्ट बिहान घाँस काट्न जाँदा बाटोमा सुन्न पाउँथ्यौं । दाइको बेग्लै कापी थियो, जहाँ उनले हेरेका सिनेमाको नाम हुन्थ्यो । अनि रेडियो नेपालबाट बजेका गीतका हरफहरू ।
फिल्म हल, सिनेमा, हिरो–हिरोइन, यिनै कुराले मेरो दिमाग टन्किन थालिसकेको थियो । मेरो छटपटी काकाले बुझेछन् । एक दिन भने, ‘तँ पनि मसँग हटिया हिँड् बेटा । म माधुरीको सिनेमा देखाउँछु ।’ बुरुक्क उफ्रेर आमा भएको ठाउँमा गएँ । उहाँ पसलमा व्यस्त हुनुहुन्थ्यो । मैले मसिनो स्वरमा भनेँ, ‘आमा, म भोला काकासँग इलाम जान्छु ।’
‘स्कुल नगई–नगई इलाम जाने तँ ?’ आमाले सहमति जनाउनुभएन ।
‘भोलि बिहीबार बिहानको स्कुल त हो नि,’ मैले बहाना मिलाएँ, ‘स्कुल छुट्टी भएपछि घर आएर जान्छु नि ।’
‘हुन्छ । तर, भोलिको लागि बाख्रालाई घाँस काटिराख् नि ।’ म कचिया बोकेर बारीतिर लागेँ ।

स्कुलकै पोसाक सेतो सर्ट र निलो पाइन्ट (अरू नयाँ लुगा मसँग थिएनन्) लगाएर तयार भएँ । झन्डै अढाई घण्टाको पैदल यात्राले खुट्टा थाकिसकेका थिए । पसिनाले लगभग भिजिसकेको थिएँ म । इलाम चोकबजार नजिकै पीपलबोट छेउ थियो राज भिडियो हल । होचो दुईतले काठको घरभित्र । काकाले टिकट लिएपछि हात समाएर भीड छिचोल्दै भित्र छिराए ।
मधुरो बत्तीमा हल्का उज्यालो छरिएको थियो । उनीसँगै छेउमा बसेँ । ‘अब खुब मोज गर्, कान्छा,’ यसो भन्दै उनले कमिजको गोजीबाट सुपारी र गुट्खा मोलेर एक फ्वाँक मुखमा हाल्न भ्याइहाले । बिस्तारै बत्ती झ्याप्पै निभ्यो । म अत्तालिएँ । भोला काकाले मेरो छटपटी बुझे सायद । भन्दै थिए, ‘अब फिल्म सुरु गर्छ । आनन्दले मैसँग हेर्लास् ।’
अगाडि भित्तामा बिस्तारै उज्यालो छायो । सुरुमा हिरो, हिरोइनको नाम देखाउन थाल्यो । म्युजिक सँगसँगै फिल्मको नाम ठूलो अक्षरमा लेखियो । त्यस्तो ‘आर्ट’ गरेको अक्षर त मैले गाउँमा ‘शुभ विवाह’ लेखेको मात्रै देखेको थिएँ ।
फिल्म त सुरु भयो तर हिन्दी रहेछ । संवाद नबुझे पनि हिरो–हिरोइनको रोमान्स देखेँ, गुन्डालाई रामधुलाइ दिएको चाख मानेर हेरिरहेँ । अहिले सम्झन्छु, फिल्मको नाम ‘बेटा’ रहेछ । जतिबेला म लगभग सात वर्षको थिएँ ।
फिल्म सकिन लाग्दा मात्रै झसंग भएँ । किनकि कोठा पूरै अन्धकार छ । लाग्यो– रात पर्‍यो, अब घर कसरी जाने ? कहिलेकाहीँ राति पढिरहेका बेला टुकीमा तेल सकिन्थ्यो र बत्ती झ्याप्पै निभ्थ्यो, ठीक त्यस्तै महसुस गरेँ । म चुइँकिन थालेपछि काकाले सम्झाए, ‘किन रुन्छस् ए । पिसाबले च्याप्यो भने भन् ?’
मैले दायाँबायाँ मुन्टो हल्लाएँ । ‘रात परिसक्यो, छिटो निस्कौं । नत्र घर कसरी पुग्ने ?’ भन्न पनि सकिनँ । फेरि सोचेँ— भोला काका छँदै छन् । मलाई केको चिन्ता ।
बाहिर निस्कँदा त घाम पो लागिरहेको ! यसरी जीवनमै पहिलोचोटि हल मात्रै होइन फिल्म पनि हेर्न पाएँ— भोला काकासँग ।

सिद्धिथुम्का डाँडाबाट घाम ओरालो लाग्दै गर्दा साँझ भित्रिइसकेको थियो । म रेडियोमा वासुदेव मुनाललाई सुनिरहेको थिएँ । आमाले भन्नुभयो, ‘भोलाले आज उसको परिवारै ल्याउँदै छ रे !’
केही दिनअघि घर जान्छु भनेर हिँडेका काका त्यस दिन फर्किएका थिए । बुबालाई अलिपर लगेर उनले भने, ‘साँल्दाजु, मैले आफ्नो जहान र केटाकेटी पनि लिएर आ’को छु । सधैं कति घर गइरहनु । सँगै हुँदा मन पनि अडिँदो रहेछ...’
केहीछिनमै मजेत्रोले घुम्लुङ्ग शिर ढाकेकी काकी देखिइन् । उनले बायाँ हातले सानी छोरी डोहोर्‍याएकी थिइन् । दुई छोरा पछाडि देखिए । काकाले सबैको परिचय गराइदिए । मेरै उमेरको छोराको नाम रहेछ— शाकिर ।
घाँस काट्न जाँदा शाकिर पनि मसँगै जान थाल्यो । रूखमा चढेर हिन्दी गाना गुनगुनाइबस्थ्यो ऊ । तर, म बुझ्दिनथेँ । परिवार थपिएपछि उनीहरूका लागि अर्को कोठा पनि थपियो । त्यसको केही दिनपछि काका परिवारसहित डाँडागाउँका भट्टराई बाजेकहाँ सरे ।
एक दिन गाउँभर हल्ला फैलियो— भोलाले क्यामेरा किनेर ल्यायो । क्यामेरा हुनेहरू दसैं–तिहारका बेला सेलिब्रिटी बन्थे । फोटो खिचाउनका लागि वल्लो/पल्लो गाउँबाट तारन्तार खबर आइरहने ।
काका साँझमा आइपुगे । भोलिपल्ट कतै हिँड्नुपर्ने भएकाले क्यामेरा लिन डाँडागाउँ पठाए । ‘मलाई बिहानका लागि चाहिएको हो, आज उतै बसेर भोलि बिहानै आउनू,’ निर्देशन दिएर उनी दोकान लाइनतिर निस्किए ।
म तत्काल उकालो दौडिइहालेँ । काकी खाना पकाउँदै रहिछन् । क्यामेरा लिन आएको बताएपछि उनले भनिन्, ‘अहिले रातबिरात कहाँ जान्छ ? भोलि बेहानै लिनू र जानू ।’ म एक छिन अनकनाएँ र शाकिरतिर हेरेँ । उसले आँखाले इसारा गर्‍यो । मैले ‘हुन्छ’ भनेँ ।
आज शाकिरसँग सुत्न पाइने भयो ! मनमा खुसी चढिसकेको थियो । शाकिरका भाइबैनी अघि नै सुतिसकेका रहेछन् ।
‘हाम्पनि सुतुम्,’ शाकिर भाइबैनीलाई भित्तातिर ठेल्दै खाटमा चढिसकेको थियो । उनीहरूले ओढेको तन्ना पन्छाउँदै भन्यो, ‘म छेउमा सुत्छु, तँ ह्याँ बीचमे आइज ।’ जब मैले नांगो खाट मात्रै देखेँ, भरंग भएँ । न गुन्द्री बिछ्याइएको थियो, न त डसना । डसनामाथि तन्ना हुनुपर्ने, तन्नालाई त उनीहरूले सिरक बनाएका रहेछन् ।
धुनियाको घरमै सिरक, डसना छैन ! एक छिन अवाक् बनेँ म । सुत्नु नै थियो । शाकिर छेउमा, त्यसपछि म, उत्तापट्टि उसका भाइबैनी लहरै सुत्यौं । केहीबेरमा मेरो ढाड बिझाउन थाल्यो । उठ्दा आँखा पोलिरहेको थियो ।
घाँटीमा क्यामेरा झुन्ड्याएर डाँडागाउँबाट झर्दा म फुरुंग थिएँ । रूखमा बसेका चरातिर क्यामेरा सोझ्याउँथे र फोटो खिचेझैं खिचिक्क गर्थें । पुसको बेला भए पनि बिहानको घाम न्यानो थियो । अदुवाका बोट सुक्न थालिसकेका थिए । तोरी फुलेकाले बारी पहेँको साडीमा सजिएझैं देखिन्थ्यो ।
मलाई साँच्चिकै फोटो खिच्न मन लाग्यो । जेसुकै होस्, तोरीबारीको एउटा फोटो खिच्छु–खिच्छु । आँट बढ्यो । क्यामेरा तेर्स्याएँ । आँखामा टाँसे र नाक खुम्च्याउँदै अर्को आँखा चिम्लिएँ । ओहो, सानो प्वालबाट कस्तो सुकिलो तोरीबारी ! खिचिक्क पारिहालेँ । फूलमा बस्न आएको मौरीको अर्को पनि... ।
आँगनमा बसेर चिया पिउँदै रहेछन्, काका । हतारहतार क्यामेरा जिम्मा दिएँ । जब उनले गोजीमा हात छिराएर नयाँ रिल झिके, म खिस्रिक्क परेँ । क्यामेरामा रिल लोड गरेपछि झन् पक्का भयो— बिहानभरि फोटो खिचेको क्यामेरामा त रिल नै रहेनछ !
तर, मैले कसैलाई भनिनँ ।
यसरी मैले क्यामेरा देख्न पाएँ । आफैंले छामे । चलाएँ । र, जीवनमै पहिलोपटक भोला काकाको क्यामेराले फोटो खिचेँ ।
शाकिर र मलाई दुईतिर राख्दै केही दिनपछि काकाले घोषणा गरेका थिए— आजदेखि तिमेरी मीत भयौ । अब तँ होइन तिमी भन्नुपर्छ । झगडा गर्नुहुँदैन ।’ मेरो जीवनमा पहिलोपटक मीत लगाइदिने पनि उनै भोला काका थिए ।

भोला काका किन अचानक भागे गाउँबाट ?
मेरो बालमस्तिष्कमा धेरै महिनासम्म यही प्रश्न खेलिइरह्यो । भोला काकाको विम्ब मेरो मस्तिष्कबाट हराउन सकेन । एक दिन म डाँडागाउँ पुगेको थिएँ । आँगनमा टाँगिएको डोरीमा भोला काकाको धोती देखेँ । झसंग भएँ र आफैंलाई सोधेँ, ‘के काका फेरि गाउँ फर्किए ?’
समयचक्रसँगै भोला काका छुट्दै गए । जसरी मबाट बालापन छुटिरहेको थियो । सम्झिन्छु, झन्डै २० वर्षअघिको ऋतिक रोशन काण्डमा ‘इन्डियन’ हरूलाई खुब गाली गर्थे केही । पहिलो सूचीमै पर्थ्यो— धोती ! मेरो मुटुमा च्वास्स बिझ्थ्यो । लाग्थ्यो, यिनीहरू भोला काकालाई नै गाली गरिरहेका छन् ।
संविधान निर्माणपछि आफ्ना माग नसमेटिएको भन्दै मधेसी मोर्चाले आन्दोलन चर्कायो । वीरगन्जमा गोली लागी भारतीय युवकको मृत्यु भएको समाचार आउँदा मेरो दिमागमा झड्का लाग्यो । कतै त्यो शाकिर त थिएन ?
मेरो मीत !
यस्ता अनेकौं घटनामा स्मृतिदंश बल्झिएर आउँछ । त्यसबेला अटाईनअटाई आउँछन्, शाकिर, भोला काका, शम्भु, छोटेलालहरू । खुसुक्क छाडिजाने भोला काकाको विम्ब भने मस्तिष्कबाट कहिल्यै हराएन । जसले मलाई तीन कुरा सिकाए– साइकल कुदाउन । क्यामेरा चलाउन । र, फिल्म हेर्न ।

कोसेली

दस हजार माइलको यात्रा

- जगत देउजा

राजगोपाल पीभी भारतका सुपरिचित गान्धीवादी अभियन्ता । उनी बारम्बार दोहोर्‍याउँछन्— हिंसाको मूल कारक गरिबी, असमानता र विभेद हो । यसको जरोसम्म पुगेर समाधान खोज्नुपर्छ । तब मात्र शान्ति पाउन सकिन्छ । यसका लागि अहिंसात्मक आन्दोलन चाहिन्छ ।
‘एकता परिषद्’ को संयोजन गरिरहेका उनले भारतमा सयौं पदयात्राको अगुवाइ गरेका छन् । सन् २०१२ मा ग्वालिएरदेखि दिल्लीसम्म १ लाख मानिसको १ महिने यात्रा उनकै अगुवाइमा भएको थियो । त्यतिखेर १ लाख मानिस सडकमा नै खाने र सडकमा नै सुत्ने गरी व्यवस्थापन गरिएको थियो । तर गाडी सञ्चालनमा अवरोध पुर्‍याइएको थिएन । एक छाक मात्र खाएर यात्रा गरिएको थियो । पछि सरकारसँग भूमिसुधार लागू गर्नेलगायतका १० बुँदे सम्झौता पछि आन्दोलन समापन गरिएको थियो ।
यो पदयात्रामा एउटा अनौठो घटना भयो । यात्राका क्रममा ट्रक दुर्घटनामा परी दुई पुरुष यात्रीको मृत्यु भयो । उनीहरूका पत्नी पनि पदयात्रामा थिए । दुर्घटनापछि न ट्रक जलाइयो न मृतकका पत्नीहरू घर फर्किए । उनीहरू पदयात्रामा सहभागी भइरहे । उनीहरूले भने, ‘हामी जुन उद्देश्यका लागि आएका हौं, त्यो पूरा नभई फर्किन्नौं ।’ यो यात्रामा लेखकसहित केही नेपाली पनि सहभागी थियौं ।
यिनै राजगोपालको नेतृत्वमा दस हजार माइलको यात्रा भइरहेको छ ।

दिल्लीदेखि जेनेभा
‘जय जगत् २०२०’ नाम दिइएको यो यात्रा दिल्लीको राजघाटबाट सुरु भएको हो । २ अक्टोबर २०१९ मा गान्धीको जन्मदिन पारेर सुरु गरिएको यो एक वर्षपछि २ अक्टोबरमै जेनेभामा समापन हुनेछ । यात्रीहरू जेनेभा भने विश्व शान्ति दिवस २५ सेप्टेम्बरमा पुग्नेछन् । ८ लिन लगातार जनसंसद् आयोजनासँगै कार्यक्रमको विधिवत् समापन हुनेछ । जेनेभास्थित संयुक्त राष्ट्रसंघको मुख्यालयअघि हुने यस संवादमा ५ हजारजना सहभागी हुनेछन् । संसद्मा समावेशिता, पर्यावरण, पुनर्निर्माण र सबैलाई सामाजिक न्याय हुनुपर्ने विषय उठाइनेछ ।
नोभेम्बरको पहिलो साता यात्रा हरियाणा, उत्तर प्रदेश, राजस्थान हुँदै मध्यप्रदेश पुगेको थियो । ५० जना यात्रीको यो टोलीले ३ सय ५८ दिन पैदलयात्रा गर्नेछ । ७० को दशकमा डाकुहरूले हतियार बिसाएर शान्ति ल्याएको चम्बलमा यात्री पुग्दा स्थानीयले स्वागत गरेका थिए । चम्बलका करिब ५ सय डाकुहरूलाई हतियार बिसाई अहिंसात्मक बाटोमा ल्याउने कार्यको मध्यस्थता यिनै राजगोपालले गरेका थिए ।
यो पदयात्राको यात्रीमा युवा र सामुदायिक अगुवाहरू छन् । तीमध्ये १० जना अभियानकर्मी छन् भने १० जना फ्रान्स, केन्या, बेल्जियम र स्विट्जरल्यान्डका नागरिक छन् । भारत–पाकिस्तान सीमा क्षेत्र ओरधास्थित गान्धी आश्रममा पुगेपछि यात्रा शान्ति सम्मलेनमा परिणत हुनेछ । यो यात्रा गान्धीको १५० औं र विनोभा भावेको १२५ औं जन्म दिनको सन्दर्भ पारेर आयोजना गरिएको हो ।
यात्रीहरू १३ देश पाकिस्तान, इरान, अजरबैजान, जर्जिया, बुल्गेरिया, सर्बिया, उत्तरी मासेडोनिया, कोसोभो, अल्वानिया, मोन्टेनेग्रो, बोस्निया, क्रोसिया, इटाली देश पार गर्दै स्विजरल्यान्ड पुग्नेछन् । केही अप्ठेरा ठाउँमा भने यात्रा गाडीबाट हुनेछ । पाकिस्तानको यात्रामा नेपाली टिमले अगुवाइ गर्नेछ । पूरै यात्रामा भाग लिन नसक्ने वा नचाहनेले ३० दिनका लागि मात्र पनि सहभागी हुन सक्नेछन् ।



शान्ति र न्यायका लागि विश्व यात्रा
‘जय जगत्’ सबैलाई ब्युँझाउने यात्रा हो । आर्थिक, सामाजिक, वातावरणीय संकटलाई चाँडो सही तरिकाले सम्बोधन गर्न ढिला नगर्न सबैलाई चेतावनी यात्रा हो । जीवनको लयमा परिवर्तन गर्न आवश्यक छ । उपभोक्तावादी संस्कृतिले हामीलाई एक दिन नराम्ररी सिध्याउनेछ । यस्तै सन्देश बोकर यात्रीहरू गाउँ–गाउँ र बस्तीमा पुगेका छन् ।
यात्रीहरूले गान्धीका अलावा विनोभा भावे र अम्बेडकरलाई पनि आदर्श पात्रको रूपमा लिएका छन् । विनोभा भावेले सन् १९५० देखि १९६० को दशकमा भूमि प्राप्तिका लागि देशव्यापी यात्रा गरेका थिए । यात्रामा उनले ४२ हजार एकड जमिन दान लिए र पछि भूमिहीनलाई वितरण गरियो । जसलाई भू–दान अभियान भनिएको थियो । समाजमा व्याप्त गरिबी, असमानताको विरुद्ध अम्बेडकर जिन्दगीभर लडे ।
यो यात्रामा विश्व बैंक, संयुक्त राष्ट्रसंघजस्ता विश्वव्यापी संगठनको भूमिकाबारे पनि छलफल हुनेछ । जेनेभामा अहिंसात्मक अर्थव्यवस्थाको विषयमा तिनका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ । नाफा र आर्थिक वृद्धिका कुरा मात्र गर्ने गरिबी र न्यायबारे नबोल्ने संगठनलाई अहिंसात्मक अर्थव्यवस्थाबारे सोच्न र बोल्न आह्वान गरिनेछ । यो यात्राले स्थानीय मुद्दालाई विश्वव्यापी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । ‘हामी समुदायका सानो कुरालाई महत्त्वका साथ उठाउँछौं । विकास तलबाट सुरु हुनुपर्छ भन्ने कुरालाई बहसमा ल्याउँछौं,’ केहीअघि यात्राको अन्तिम तयारी कार्यशालाका लागि नेपाल आएका रोजगोपलले भनेका थिए ।
शोषण, अत्याचार, दमन, गरिबी अप्रत्यक्ष हिंसा हो । प्रत्यक्ष हिंसालाई हामी देख्छौं र खुलेर विरोध गर्छौं । तर अप्रत्यक्ष हिंसामा हामी कम बोल्छौं । जबसम्म अप्रत्यक्ष हिंसाविरुद्ध बोल्दैनौं, तबसम्म दुनियाँमा हिंसा कम हुनेछैन । अप्रत्यक्ष हिंसाको अन्त्य नगरी प्रत्यक्ष हिंसा रोकिँदैन । शान्तिको रटानले मात्र पुग्दैन, शान्तिका लागि न्याय चाहिन्छ । यात्राले यो नाराको पनि पैरवी गर्नेछ ।
यात्राको छिनछिनको अपडेट सोसियल मेडियाबाट दिइएको छ । अभियन्ता अनिश यसका लागि खप्पिस छन् । उनका अनुसार यात्रा हालै झिरिया पुगेको छ । कहिले हिन्दी, कहिले स्पेनिस र कहिले फ्रेन्चहरू गीतहरू गुन्जिरहेका छन् । गीतले यात्रीहरूलाई ऊर्जा दिएको छ भने सर्वसाधारणलाई सन्देश । गाउँगाउँ बस्ती बस्तीमा उत्पीडित समुदायको अधिकारका लागि छलफल
भइरहेको छ ।
नोभेम्बर १६ तारेखका दिन झिरिया गाउँका पार्दी समुदायका महिला र पुरुषसँग रूखमुनि छलफल भयो । पार्दी समुदाय घुमन्ते हुन् । उनीहरूले जंगलको बास र जंगलमा आधारित जीवनकथा यी यात्रीलाई सुनाएका थिए । घुमन्तेहरूले कसरी मानिसहरूले वन विनाश निम्त्याइरहेका छन् र यसले घुमन्ते तथा जंगली जनावरको बासलाई असर गरिरहेको छ भन्ने सुनाएका थिए ।
यो यात्राको अर्को उद्देश्य समुदायहरूमा रहेका सीप र ज्ञानलाई चिन्ने पनि हो । स्थानीय उपाय र सीपलाई कसरी विश्वव्यापी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने पनि यसले खोजी गर्नेछ ।

Page 21
कोसेली

के भयो श्रीलंकामा ?

- जगदीश्वर पाण्डे

सन् २०१७ अघि श्रीलंकाको नाम सुन्नेबित्तिकै मलाई क्रिकेटको याद आउँथ्यो । अन्तर्राष्ट्रिय स्तरमा राम्रो क्रिकेट खेल्ने श्रीलंकन क्रिकेट टिम एकतर्फ मेरो आकर्षणको केन्द्र थियो भने अर्कोतर्फ थिए नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई श्रीलंकन प्रशिक्षक रोय लुक डायस र पुवुदु दासानायके (उनी अहिले क्यानेडेली नागरिक हुन्) । श्रीलंका अर्थात् क्रिकेट ।
तर सन् २०१७ मा जब मैले भारतको तमिलनाडुको राजधानी चेन्नाईमा पत्रकारिता पढ्दा पढ्ने अवसर पाएँ । त्यस बेला श्रीलंकाका तमिल र मुस्लिम दुवै साथी थिए । उनीहरूसँगको उठबस र तमिलनाडुबाट नजिकै रहेको श्रीलंकालाई मैले बुझ्ने र चिन्ने अवसर पाएँ । श्रीलंकाबाट विस्थापित भएका शरणार्थीको जीवनयापद गरिरहेका श्रीलंकन तमिलहरूसँग पनि भेटेर कुरा गर्ने अवसर मिल्यो ।
त्यसैले अहिले श्रीलंका भन्नेबित्तिकै ममा श्रीलंकाका अल्पसंख्यक तमिल र मुस्लिम जातिहरू र उनीहरूले भोगेका पीडाको सम्झना आउने गर्छ । सन् १९८३ देखि २००९ सम्म अल्पसंख्यक तमिल विद्रोही र करिब ७५ प्रतिशत जनसंख्या रहेको सिन्हाली समुदायले सञ्चालन गरेको राज्यसत्ताबीच चलेको द्वन्द्वको याद आउँछ । युद्धमा करिब ४० हजारभन्दा बढी मरेको अनुमान गरिएको छ । बेपत्ता, क्षति र घाइतेको अझै पूरा रूपमा यकिन हुन सकेको छैन । चारैतिर समुद्रले घेरिएको पूर्व ब्रिटिस शासित मुलुक लामो जातीय द्वन्द्व, राजनीतिक उतार–चढाव र अन्तर्राष्ट्रिय राजनीतिक खिचातानीले गर्दा अन्तर्राष्ट्रिय चासोमा छ ।
नोभेम्बर १८ मा श्रीलंकाले नयाँ राष्ट्रपतिका रूपमा गोटाभया राजापाक्ष पायो । त्यसको तीन दिनमा उनले आफ्ना दाइ तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री चयन गरे । दुईपटक राष्ट्रपति र एकपटक प्रधानमन्त्री भइसकेका महिन्दा सन् २०१५ मा राष्ट्रपति निर्वाचनमा मैत्रिपाला सिरिसेनासँग पराजित भएका थिए ।
सन् २००० को सुरुआतदेखि राजनीतिको केन्द्रमा रहेका महिन्दाले आफ्नो नेतृत्वमा सन् २००९ मा गृहयुद्ध त अन्त्य गरे तर त्यसमा मुलुकको उत्तर–पूर्वी क्षेत्रमा बस्ने कति तमिलको ज्यान गर्‍यो भन्ने कुनै पर्वाह गरिएन । सन् २०१५ मा महिन्दा सत्ताच्युत भएपछि मुलुकमा सामुदायिक हार्दिकता भएको अपेक्षा गरिएको थियो । श्रीलंकाकै तमिल समुदायका व्यक्तिको भनाइअनुसार मुलुकमा अब जातीय द्वन्द्व घट्दै जाने अपेक्षा थियो । किनकि श्रीलंकाका तमिल महिन्दालाई मुलुकमा जातीय हतियार प्रयोग गर्ने शासकको रूपमा लिन्छन् ।
महिन्दा सत्ताबाट गएलगत्तै श्रीलंकाको चीनले लगानी गरेको हम्बनटोटा पोर्ट र त्यसबाट निस्केको ‘डेप्ट ट्र्याप’, निर्वाचनको केहीअघि अप्रिलमा भएको इस्टर बम हमलाले तथा आन्तरिक रूपमा महिन्दाले पटक–पटक चालेका कार्डका कारण फेरि राजापक्ष परिवार नै श्रीलंकाको मुख्य नेतृत्वमा फर्किएको छ । महिन्दाले आफ्ना भाइ गोटाभयालाई श्रीलंका पिपुल्स फ्रन्ट पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाए र जिताउन सफल भए । लगत्तै आफू प्रधानमन्त्री भए र पछिल्ला दुई दशक श्रीलंकाको राजनीतिक राजपाक्ष परिवारकै वरिपरि घुमाउन सफल भए ।
श्रीलंका दक्षिण एसियाको विकासका सूचकांकहरूमा अन्य मुलुकभन्दा तुलनात्मक रूपमा अघि छ । महिन्दाले आफ्नो कार्यकालमा तमिललाई सिन्हाली बनाउन केसम्म गरेनन् ? उनले पूर्ण रूपमा सांस्कृतिक अतिक्रमण गरे । सिन्हालीलाई राष्ट्रिय भाषा बनाए । अध्ययन, अध्यापन सिन्हालीमै गराए । सत्ताविरुद्ध बोल्नेलाई कि त खोरभित्र हाले कि संसारै छाड्न लगाए । भाग्न सफल हुनेहरू नजिकै भारतको तमिलनाडुमा आएर बस्न थाले ।
१९९१ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको आत्मघाती बम विस्फोटमा हत्या भएपछि तमिलहरूलाई श्रीलंकाबाट भारत आउन पनि रोकियो । गान्धीको हत्या श्रीलंकाली तमिलले नै गरेको ठहर गरेर श्रीलंकाली तमिललाई भारतमा कडाइ गरियो । तमिलनाडु अवस्थित भारतीय सुरक्षाविज्ञ सूर्यनारायणका अनुसार राजीवकी आमा इन्दिरा गान्धीले श्रीलंकामा तमिल राज्यको माग गर्दै अघि बढेका तमिल विद्रोही र उसका मुख्य नाइके प्रभाकरणलाई दिल्लीमै बोलाएर भारतले उक्त आन्दोलनमा सहयोग गर्ने बताएकी थिइन् । त्यसको दुई दशकअघि गान्धीकै अग्रसरतामा पाकिस्तानबाट पूर्वी पास्कितानलाई फुटाएर नयाँ मुलुक बंगलादेश जन्मिएको थियो ।
तमिल संगठन लिट्टेले भारतको सहयोगमै सुरुआती दिनमा श्रीलंकामा गतिविधि बढायो । यसलाई आर्थिक, हातहतियार र शरणसमेत भारतबाटै प्राप्त हुने गरेको मानिन्थ्यो । विद्रोहीहरू तमिलनाडुमा लुक्थे । यसमा ठूलो सहयोगी तलिमनाडुको सरकार नै थियो । तमिलनाडुमा अधिकांश तमिल समुदाय छ । उनीहरूको वेशभूषा र चालचलन सबै मिल्छ । अर्को महत्त्वपूर्ण कुरा श्रीलंकाको तमिल र तमिलनाडुका तमिलबीच रगतको नातासमेत छ । ब्रिटिसले भारतमा राज गर्दा श्रीलंकाको उत्तर–पूर्वी भागमा राम्रो चिया खेती हुने कारणले गर्दा काम गर्नका लागि भारतबाट केही तमिलहरूलाई पनि लगेका थिए ।
सुरक्षाविद् सूर्यनारायणका अनुसार सुरुआती दिनमा तमिल विद्रोहीका नाइके प्रभाकरण चेन्नाईमै बस्थे र श्रीलंकामा आफ्नो संगठन चलाउँथे । ‘मैले प्रभाकरणलाई चेन्नाईको एक घरमा भेटेको थिएँ । उनले आफ्नो आन्दोलनमा भारत सरकार र तलिमनाडुको सरकारले साथ दिएको बताएका थिए,’ उनले सन् २०१७ मा भनेका थिए ।
सन् १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको आफ्नो सुरक्षा गार्डबाट हत्या भएपछि प्रधानमन्त्री बनेका उनका छोरा राजीवले भारत सरकारले श्रीलंकाको तमिल विद्रोहीलाई गर्दै आएको सहयोग बन्द गर्न थाले । उनले श्रीलंकाली सरकारलाई साथ दिन थाले । राजीवले सन् १९८७–९० सम्म श्रीलंका सरकारसँग सम्झौता गर्दै शान्ति स्थापना गर्ने भारतीय फोर्स पठाए, जसले तमिल विद्रोहीलाई थप चिढ्यायो । त्यसको बदला दिन श्रीलंकाली तमिलले राजीवको आत्मघाती बम विस्फोटबाट हत्या गरे । उक्त हत्यामा संलग्न तमिलहरू अहिले पनि तमिलनाडुका विभिन्न जेलमा कडा सुरक्षाका साथ राखिएका छन्, जसलाई भेट्नसमेत भारत सरकारले कडाइ गरेको छ ।
छिमेकी भारतको असहयोगका कारण श्रीलंकामा तमिल विद्राहीको आन्दोलन तुहियो । सन् २००९ मा श्रीलंकन सरकारले तमिलले कब्जा गरेको सम्पूर्ण उत्तर–पूर्वी क्षेत्र आफ्नो कब्जामा लियो । उक्त काम अहिले फेरि प्रधानमन्त्री भएका महिन्दाले गरेका थिए । चार वर्ष सरकारबाट राजापाक्ष परिवार बाहिर हुँदा ‘सास फेर्न पाएका’ अल्पसंख्यक तमिल र मुस्लिमहरू फेरि उनीहरूको परिवारले राज्यसत्ता कब्जा गरेसँगै सशंकित भएका छन् ।
दाजु–भाइ राजापाक्षको यसपटक अल्पसंख्यक तमिल र मुस्लिमहरूलाई पनि सँगै लिएर अघि बढ्छन् वा पहिलेको जस्तै गरी दबाउँछन्, श्रीलंकाको भविष्य त्यसैमा निहित हुन्छ ।

Page 22
कोसेली

राष्ट्रवादको चिरफार

- नारायणी देवकोटा

सन् १८१६ मा सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर भएपछि वर्तमान नेपालको सिमाना निधारण भएको थियो । तर नक्साको आकार त्यसपछि पनि बदलिरहेको थियो । सन् १९४७ सम्म बेलायतको उपनिवेशको हैसियतमा रहेको र उपनिवेश बन्नभन्दा अगाडि सयौं राज्यमा विभाजित भारतले पटकपटक आफ्नो नक्सा बदलिरहन्छ । सुरुसुरुमा नक्सा बदलिरहनु भारतका बाध्यता भए पनि पछिल्ला वर्षहरूमा सिमानामा रहेका देशहरूसँग झगडा गरिरहने र आन्तरिक मुद्दाहरूबाट सर्वसाधारणको ध्यान भड्काउने साधनको रूपमा छिमेकिमा माथि आफ्नो शक्तिको प्रदर्शन गरिरहेको कुरा कसैबाट छिपेको छैन ।
पछिल्लो समय भारतले आफ्नो मुलुकको नयाँ नक्सामा नेपाल, भारत र चीनबीचको सामरिक महत्त्वको मानिने नेपाली भूभागलाई राखेपछि भारतको मिचाहा प्रवृत्तिको नेपालभित्र विरोध भइरहेको छ । देशभर मानिसको रगत राष्ट्रवादको आगोले तात्दै गर्दा यो राष्ट्रवाद भन्ने चीज के हो ? यो मानिसको जन्मजात रगत उमाल्ने कुरा हो कि सभ्यताको धेरै पछि आएको कुरा हो ? कि मानिस स्वभावैले राष्ट्रवादी हुन्छ ? वा यो कुनै निश्चित समयको परिघटना मात्रै हो ? भन्ने कुरा गर्न नखोज्नु सायद समयसँग नचल्नु पनि हो ।
वर्तमान सरकारलाई जनताले दिएको मत पनि धेरै हदसम्म राष्ट्रवादको कुरा थियो । नेपाल मात्रै होइन संसारभर यति बेला राष्ट्रवादको मुद्दा यसरी उठिरहेको छ कि लाग्छ यो राष्ट्रवादको समय हो । संसार यतिबेला एकातिर नवउदारवादीको असीमित र खुला बजारको कुरा गरिरहेको छ, अर्कोतर्फ चलिरहेको छ सिमानाको फेरबदल, सिमानामा बार र राष्ट्रवादी नारा र मुद्दाका कुरा । राष्ट्रहरूको सिमानाको कुरा आउँदा म विजय मल्लको कविता ‘छोरीलाई मानचित्र पढाउँदा’ सम्झन्छु । तसलिमा नसरिनको ‘लज्जा’ उपन्यास पढ्रे तर्सेको सम्झन्छु ।
संसारभरि राष्ट्रवादको लहर विशेषगरी सन् १९३० पछि साम्राज्यवादविरुद्ध उठेको थियो । साम्राज्यवादविरुद्ध उठेको लहर बिस्तारै जातीय नरसंहारसम्म पुग्यो । राष्ट्रवादको नाममा करोडौँ मानिसको जीवन समाप्त भएपछि ‘यो के हो ?’ भन्ने विषयमा समाजविज्ञ (समाज वैज्ञानिक) हरूको ध्यान गएको देखिन्छ । जसको फलस्वरूप सन् १९६० को दशकमा आएर राष्ट्रवादको विषयमा बेलायतको छुट्टाछुट्टै विचारधारा बोक्ने चार समाजविज्ञ (एली किदोरी, अर्नेस्ट गेल्नर, एरिक हबसम र एन्थोनि स्मिथ) ले गम्भीर अध्ययन गरिरहेका थिए । तर, उनीहरूले
आफ्ना अध्ययन सन् १९७७ सम्म पनि सार्वजनिक बहसमा राखेका थिएनन् । यही विषयमा अमेरिकी भाषाविद् बेनेडिक्ट एन्डरसनले आफ्नो अध्ययन अगाडि बढाएका थिए ।
सन् १९८० को दशकमा राष्ट्रवादका किताबहरू धमाधम बजारमा आए । भाषाशास्त्री बेन्डिक्ट एन्डरसनको किताब ‘इम्याजिन्ड कम्युनिटी’, समाजशास्त्री अर्नेस्ट गेल्नरको किताब ‘नेसन एन्ड नेस्नालिजम’ र एन्थोनी डी स्मिथको ‘स्टेट एन्ड नेसन इन थर्ड वल्ड’ एकै वर्ष सन् १९८३ मा प्रकाशित भए । यहाँ ‘इम्याजिन्ड कम्युनिटी’ र ‘नेसन एन्ड नेस्नालिजम’को छोटो चर्चा गरिएको छ । यी पुस्तकलाई आज पनि राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको सैद्धान्तिक बहसमा नपढी नहुने किताबको रूपमा लिइन्छ ।
‘इम्याजिन्ड कम्युनिटी’मा आफ्नो प्रध्यापनकालमा अत्यधिक चर्चित मानिने भाषाविद् तथा एसिया विज्ञको छवि प्राध्यापक बेन्डिक्ट एन्डरसनले राष्ट्रवादलाई समुदायको परिकल्पनाको रूपमा लिएका छन् । किताब परिचयदेखि किताबको जीवनकथासम्म १२ भागमा विभाजन गरिएको उक्त किताबको परिचय खण्डमा उनी राष्ट्रवादलाई ‘राजनीतिक समुदायको परिकल्पना जो भित्रैदेखि सीमित र सार्वभौम हुन्छ’ भन्छन् । किन राष्ट्रवाद परिकल्पना मात्रै हो भन्नेबारेमा उनले दुई पेज लामो स्टेटमेन्ट लेखेका छन् । जसमा राष्ट्रका सदस्यले अर्को सदस्यलाई कहिल्यै नदेखेको नभेटेको वा उसको कुरा नसुनेको भए पनि आफ्नो
समुदायका सदस्यको रूपमा परिकल्पना गर्छ । तर, त्यसरी परिकल्पना गर्दा उसले आममानव समुदायको परिकल्पना गर्दैन । उदाहरणका लागि काठमाडौंको मान्छेले लिम्पियाधुराका मान्छेलाई कहिल्यै देखेको छैन तर तिनीहरू नेपाली भएको परिकल्पना गर्छन् । तर त्यही ठाउँ वरपरका भएका नेपालीबाहेकका चिनियाँ वा भारतीयको परिकल्पना गर्दैनन् । त्यसमाथि मानिसको उक्त परिकल्पना कसैले लादेको भन्दा पनि सार्वभौम प्रकारको हुन्छ ।
त्यसो त किताबकै परिचय खण्डको सुरुआत उनी मार्क्सवादी आन्दोलन र मार्क्सवादमा अब (सन् १९८३, जहिले सोभियत युनियनको पतन पनि भएको थिएन) आधारभूत रूपमा नै परिवर्तन आएको कुराबाट गर्छन् । मार्क्सवादमा आएको उक्त परिवर्तनलाई पुष्टि गर्नका लागि उनले चीन, भियतनाम र कम्बोडियामा कम्युनिस्टहरूले गरेको राष्ट्रिय स्वतन्त्रताको आन्दोलनको कुरालाई जोड्छन् । यसलाई तन्काउँदै दोस्रो विश्वयुद्धपछिका सबै क्रान्तिहरूले राष्ट्रियतालाई केन्द्रमा जोडेको सम्म लैजान्छन् । तर, यत्रा ठूला ठूला क्रान्ति भए पनि अरू ‘वाद’ हरूले जस्तो राष्ट्रवादले आफ्नो कुनै ठूला व्याख्याताको विकास गर्न नसकेको कुरा लेख्न उनी छुटाउँदैनन् ।
धार्मिक सम्प्रदायले मानिसको आत्माको मृत्यु नहुने र वर्तमान जीवन मानिसले आफैं गरेको कर्मको फलको रूपमा व्याख्या गर्न खोजेकै कारण विभिन्न बिरामी, दमन, मृत्यु र दुःखका बाबजुद पनि धर्महरू (लेखककै भाषामा, बुद्ध, इस्लाम र इसाई) हजारौँ वर्ष टिकेका हुन् । यस्तो परिकल्पनामा सुरुमा धर्मका पवित्र लिपिहरूले बाँधेर राखेको थियो । बिस्तारै राज्य र राजसंस्थासँग जोडियो । जसले समाजलाई प्राकृतिक रूपमा नै विभाजित भएको परिकल्पना गर्‍यो । राजा हुनु भनेको उसको अलौकिक शक्तिको कारण हो भन्नेमा जोडियो । यसैले राजा पनि अलौकिक कुरालाई लिएर गरिएको समुदायको परिकल्पना थियो । बिस्तारै उक्त परिकल्पनाहरू भत्कन थाले । यसरी समुदायको पुरानो परिकल्पना भत्कनुको दुई कारण एन्डरसनले जोडेका छन् । जब लामोलामो यात्रामा मानिस निस्कन थाले उनीहरूले आफ्नोभन्दा फरक धर्म पनि संसारमा हुँदो रहेछ भन्ने कुरा थाहा पाए । उदाहरणका लागि इटालीका मार्को पोलोको एसियाको यात्रा वर्णन र पर्सियन यात्री रिकाले युरोप यात्राको बारेका लेखेका कुरालाई एन्डरसनले जोडेका छन् ।
दोस्रो युरोपमा ल्याटिन भाषाको वर्चस्वमा बिस्तारै कमी आउँदै गयो । १५०० अघि संसारभर प्रकाशित हुने किताबमध्ये ७७ प्रतिशत ल्याटिन भाषाका थिए । १६४० मा आउँदा यो संख्या निकै घट्यो । १८ औँ शताब्दीमा आउँदा युरोपभर उपन्यास र पत्रिकाको व्यापार र वर्चस्व बढ्यो । जसले समुदायको परिकल्पनालाई झन् बलियो बनाउँदै लग्यो । जुन बिस्तारै युरोपबाट संसारभर फैलियो भन्छन् उनी ।
राष्ट्रवादको परिकल्पनाको विकासलाई छापाखाना र त्यसको प्रचारप्रसारले जोडेको कुरा रोचक छ । युरोपमा ल्याटिन भाषा धेरै कम मानिसले पढ्थे । पढेका मध्ये धेरै कमले मात्र त्यसलाई व्याख्या गर्थे । तर, बोलीचालीमा स्थान विशेषका भाषाहरू थिए । सोह्रौं शताब्दीमा आफ्ना आफ्ना बोलीचालीका भाषामा किताबहरू लेखिन थालियो । आफ्नाआफ्ना भाषामा किताब लेखिन थालिएपछि ल्याटिन भाषाका आधारमा गरिएको क्रिस्टियानिटी सुमदायको परिकल्पनालाई भाषा विशेषका समुदायको परिकल्पनाले प्रतिस्थापन गर्दै गएको कुरालाई लेखेका छन् । यो सन्दर्भ नेपालको सन्दर्भमा पनि हिन्दु धर्मको आधारमा भएको समुदायका परिकल्पना बिस्तारै नेपाली भाषाका समुदायको परिकल्पनाले लिएको भनेर केही हदसम्म भन्न सकिन्छ ।
अठारौं शताब्दीमा आउँदा भाषालाई ‘राष्ट्रिय’ भन्दै राजनीतिक महत्त्व दिन थालियो । अठारौं शताब्दीको मध्यदेखि युरोपमा भाषा विज्ञान, शब्दकोश, व्याकरण र साहित्यले मानवीय श्रमको एउटा क्षेत्रको रूपमा विकसित हुने अवसर पायो । यसरी प्रकाशित भएका किताबहरूका ग्राहक कामकाजी पुरुषहरूभन्दा पनि घरमा नोकर भएका महिलाहरू र विद्यालयमा पढिरहेका बालबालिका हुन्थे । आफ्नो आफ्नो भाषाको शब्दलाई अर्को भाषाको शब्दसँग तुलना गर्ने र आफ्नो समुदायको परिकल्पना गरी राष्ट्रवादको आन्दोलन अगाडि बढाउने काम मध्यम वर्गका मानिसमार्फत भएको थियो । १९ औँ शताब्दीमा आउँदा युरोपका धेरै मुलुकले कर्मचारीतन्त्रका लागि ठूलो बजेट छुट्याउन थाले र त्यसरी छुट्याएको बजेट कर्मचारीको भाषिक दक्षता वृद्धिका लागि पनि थियो । साथसाथै आफ्ना उपनिवेश वा प्रभाव क्षेत्रहरूमा पनि आफ्नो भाषालाई अनिवार्य सरकारी कामकाजको भाषा बनाए ।
किताबको आधाजसो भाग साइटेसनले भरिएको ‘इम्याजिन्ड कम्युनिटी’ राष्ट्रवादको विषयमा चासो राख्नेलाई मात्रै होइन भाषा विज्ञान, किताबी ज्ञानको उत्पत्ति र विकासको बारेमा चासो राख्नेहरूलाई पनि उत्तिकै रमाइलो छ । राष्ट्रवादमा चासो राख्नेलाई त यो किताब मात्रै होइन, संसारमा कस्ताकस्ता किताब छन् भन्नेबारेमा पनि उनले निकै मेहनतका साथ उल्लेख गरेका छन् ।
‘इम्याजिन्ड कम्युनिटी’ निस्केकै समयमा बेलायती दार्शनिक अर्नेस्ट गेल्नरको ‘नेसन एन्ड नेसनालिजम’ (१९८३) प्रकाशित भएको थियो । गेल्नर नेपालविज्ञ मानवशास्त्री डेभिड गेल्नरका पिता हुन् । राष्ट्र, राष्ट्रियता र राष्ट्रवादबारे लामो समय विभिन्न देशमा अध्ययन गरेका उनको किताब ती अध्ययनको सारजस्तो लाग्छ ।
नौ उपशीर्षकमा बाँडिएको यो किताबको परिचयमा उनी भन्छन्, ‘राष्ट्रवाद भनेको आधारभूत रूपमा राजनीतिक सिद्धान्त हो, जुन कुनै न कुनै आकारमा विद्यमान हुन्छ ।’ राष्ट्रवाद आन्दोलन भए पनि, भावना भए पनि, राजनीतिक नै हो, जुन भौगोलिक रूपमा हेर्दा पनि सानासाना कोठाको रूपमा देखिन्छ भन्छन् उनी । राष्ट्रवादको कुरा गर्दा राष्ट्र र राज्यसत्तालाई फरकफरक बुझ्नुपर्छ । राज्यसत्ता भनेको सत्ता चलाउने मान्छेहरू वा मान्छेहरूको एजेन्सी हो भने राष्ट्रियता मानिसको एउटा नाक वा दुईवटा कान हुनुजत्तिकै सहज प्राकृतिक परिचयको कुरा हो । राष्ट्रियता आफ्नो समुदायमा भएका एक व्यक्तिको समुदायमा भएको अर्को व्यक्ति वा समुदायप्रति हुने परस्पर अधिकार, कर्तव्य र सहभागिताको कुरा हो भन्छन् उनी जुन संस्कृतिसँग जोडिएको हुन्छ । राज्यसत्ताको आधारमा कहिले दबिने र कहिले माथि उठ्ने गरी यो राजनीतिक विषय बन्दा त्योचाहिँ राष्ट्रवाद बन्छ ।
मानव समाजको सिकारी युगमा कुनै सत्ता नभएको हुँदा राष्ट्रवाद नहुने भन्दै त्यसलाई छोडेर उनले ग्रामीण समयदेखिको समाजमा कसरी राज्य, राष्ट्रियता र सत्ताको विकास भयो भन्नेबारेमा लेखेका छन् । उनले ग्रामीण युगका किसानहरू उक्त समयमा आर्थिक आवश्यकताले जोडिएका थिए भन्ने उदाहरणमा नेपालको उच्च हिमाली क्षेत्रका किसानको परिचयलाई जोडेका छन् । जुन धर्मको आधारमा, जातको आधारमा, थर गोत्रको आधारमा परिस्थितिवश जोडिएका छन् ।
ग्रामीण समाजको समयमा राज्य एउटा निकायको रूपमा त थियो तर त्यो केही स्वायत्त, केही साम्राज्यको रूपमा थियो भनेर उनले भनेको कुरालाई पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे पनि केही ठाउँ (बझाङ, मनाङलगायत) का राजा नेपाल राज्यभित्र पनि यथावत् रहेजस्तै गरी बुझ्न सकिन्छ । उक्त समयमा राज्यहरू कहिले फैलने, कहिले खुम्चने वा कहिले फुट्ने भइरहन्थे । यस क्रममा हारेका राज्य जो जितेको राज्यभन्दा कुनै न कुनै आधारमा फरक थियो उनीहरूभित्र पुनः आफ्नो राज्य जित्ने अभिलाषा हुन्थ्यो । जसै समाज कृषि युगदेखि औद्योगिक युगमा प्रवेश गर्‍यो । तब श्रम सराइको दर बढ्यो । श्रम सराइका कारण मानिसले अर्को र आफ्नोबारेमा फरक छुट्याउन थाल्यो र यहीँबाट आफ्नो परिचय र पहिचानको कुरा सुरु भएको मान्छन् गेल्नर ।
युरोपमा भएको औद्योगिक क्रान्तिसँगै बढेको कामदारको माग र बढ्न थालेको बसाइ–सराइले मानिस–मानिसको बीचमा यो हाम्रो यो अर्काको, हाम्रो चलन राम्रो, उसको नराम्रो वा राम्रो भन्ने भावनाको विकास भयो । जसले मानिसहरूको बीचमा आफ्नो पहिचानको महत्त्व बढ्न थाल्यो र राष्ट्रियताले बलियो हुने मौका पायो । तर, राष्ट्रवादको भावना कसरी विकास भयो भन्नेबारेमा उनले अगाडिकै कुरा जोड्छन्, राजनीतिक सिमाना बढ्दा वा घट्दा राजनीतिक नेतृत्वलाई कि जितको उन्माद भयो र जितेको समुदायप्रति दमन गर्‍यो । हारेकाहरूलाई पनि हार स्विकार्न गाह्रो भयो र राष्ट्रवादको उदय भयो भन्छन् उनी । तर यसरी उदय हुने राष्ट्रवाद न त भाषाको आधारमा राष्ट्रवाद हुन्छ, न त सांस्कृतिक आधारमा हुन्छ भन्दै संसारभर आठ हजार भाषा भएकोमा आठ हजारथरी राष्ट्रवाद हुँदैन भन्दै यो राजनीतिका खेलाडीहरूले कुन कुरालाई राष्ट्रवादी रङ दिँदा उचित हुन्छ, त्यसलाई राष्ट्रवाद बुझिने गरिएको बताउँछन् । राष्ट्रवाद कहिले भाषाको आधारमा, कहिले भूमिको आधारमा (दुई हजार वर्षअगाडिदेखि टाढा भएका जियुजहरूलाई जेरुसेलमसँग जोडेर गरिने व्याख्या), कहिले शरीरको रूपका रङको आधारमा, कहिले संस्कृतिको आधारमा भएको उनी व्याख्या गर्छन् ।
राष्ट्रवाद र आदिवासी जनजाति (इथ्निक) को परिचयको कुरा एउटै होइन भन्दै आदिवासीको परिचय राष्ट्रवादको अवधारणा सुरु नहुँदा पनि थियो र यो सकिएपछि पनि जनजातिको पहिचान परिचय कहीँ जाँदैन भन्छन् । ‘राष्टवादी भनेर जसले आफूलाई भनेको छ उसले पनि राष्ट्रवाद यो हो भनेर व्याख्या गरेको छैन,’ उनी लेख्छन् । उनले कार्लमार्क्स र फेडरिक एंगेल्सको इथ्नोग्राफिक डक्ट्रिनले केही व्याख्या गर्न खोजे पनि त्यो राष्ट्रवादको सन्दर्भमा होइन भन्छन् । न त राष्ट्रवादको विरोध गर्नेहरूले नै त्यसलाई राम्ररी व्याख्या गरेका छन् भन्छन् ।

अन्तमा,
सारमा भन्नुपर्दा राष्ट्रियता भन्ने कुरा आफ्नो भन्ने कुराबाट आउँछ । जसमा म, मेरो, हाम्रो हामी भन्दै मानिसले मानिसको बीचमा फरक छुट्याउन थाल्छ तब राष्ट्रियताको कुरा आउँछ । तर, जब त्यसमा राजनीतिक रङ मिसिन्छ त्यसले राष्ट्रवादको रूप लिन्छ । राष्ट्रवादको मुद्दा चर्काइरहने धेरैलाई यो भनेको के हो भन्ने पनि स्पष्ट छैन न त यसको कुनै स्पष्ट राजनीतिक सिद्धान्त र विचारधारा नै छ भन्नेमा दुई विज्ञ सहमत देखिन्छन् । अनि यी दुई विज्ञले आफ्नो ज्ञान र विज्ञताका आधारमा राष्ट्रवाद यसरी आएको देखिन्छ है भन्ने कुरालाई जोड दिएका छन् । न कि यस्तै हो, यस्तै हुनुपर्छ भन्ने अर्थमा ।

कोसेली

सबैको ‘उस्तै’ मन

- बिना थिङ तामाङ

मान्छेको मन महासागरभन्दा विशाल छ । कहिले दौडन्छ, कहिले स्थिर भइदिन्छ । यो वास्तवमै रहस्यमय छ । यस्तै अपरिभाषित मान्छेको मनसँग जोडेर डा. विश्वबन्धु शर्माले ४० वर्षदेखिको आफ्नो अनुभवलाई शब्दमा अनुवाद गरेका छन्, ‘मान्छेको मन’ भित्र । यो पुस्तक हातमा लिइरहँदा म गहिरोसँग अतीतमा पस्न पुगेँ ।
‘निद्रा आँखामा बस्दैन । खानामा मेरो अरुचि बढेको छ । मनमा अनेक कुरा खेल्छन् । यसरी त म मर्छु होला,’ तीन वर्षअगाडि आमाले फोनमा भन्नुभएको थियो । मैले देखेकी थिएँ– आमाको घाँटीछेउका हाडहरू नमज्जाले उचालिएका । आँखाहरू गालाका हाडभित्र गाडिन सुरु भएको थियो । दिन र रातको भेउ पाउन छाडेको थियो आँखाहरूले । निष्पट्ट अँध्यारोमा पनि ती टल्किन्थे । साँध लगाइको हतियारजस्तै । मन अस्थिर भइरहेको थियो । मैले उपचारका लागि सहरको नाम चलेका केही अस्पतालमा लगेँ । खासै प्रभाव देखिएन । आमाको अवस्था पहिलेभन्दा खराब भएर गएको थियो । पछि एक शुभचिन्तकबाट मैले डा. विश्वबन्धु शर्माबारे सुनेँ । मैतीदेवीस्थित उनको क्लिनिकको फोन नम्बर पत्ता लगाएँ । समय लिएँ । एक हप्तापछिको समय मिल्यो ।
डा. शर्माको डेस्कमा पुगेको केही दिनबाट आमाका आँखाहरूले शीतलता प्राप्त गर्‍यो । मनको चञ्चलता घट्दै गयो । खानामा रुचि बढेर गयो । औषधि खासै महँगो थिएन । धेरै पनि थिएन । तर व्यथा कम हुँदै गएको देखेर म चकित भएँ । यस्तो प्रतीत भयो कि, आमाको ज्यानमा स्फूर्ति कतैबाट हाम्फालेर आइपुगेको छ । छ महिना निरन्तरको फलोअपले आमा ठीक हुनुभयो । औषधिको साइडइफेक्टले कपाल भने झर्न थालेको थियो । हामीलाई लाग्यो– आमा त ठीक हुनुभो ।
अहिले नियमित औषधि सेवनले अवस्था सामान्य हुँदै गएको छ । यसैबीच उनको पुस्तक ‘मान्छेको मन’ सार्वजनिक भयो । यो पुस्तक पढिसक्दा म धेरै कुरामा ‘कन्भिन्स’ भएँ । मसँग भएका भ्रमहरू भत्किएर गएका छन् । मानसिक स्वास्थ्य र यसबारे म अझ बढी सचेत भएकी छु । ४० वर्षदेखि मान्छेको मनको उपचारमा तल्लीन उनै डाक्टरले लेखेको पुस्तक हो ‘मान्छेको मन’ ।
सामान्यतया आममानिसमा डिप्रेसन (अवसाद) देखिन्छ । त्यस्तै एन्जाइटी (अत्यास), सिजोफ्रेनिया (मनोरोग प्रभावित खराबी), बाइपोलर डिसअर्डर (द्विध्रुवी मानसिक विकार) पनि देखा पर्न सक्छ । एकाग्र हुन नसक्ने । निद्रा नपर्ने । भीडभाडदेखि डराउने । आफ्नोविरुद्ध कसैले षड्यन्त्र गरिरहेको आभास हुने । अरूले नसुनेका कुराहरू सुनेजस्तो लाग्ने । कोही आएर कानमा लगातार बोलिरहेको महसुस गर्ने । कसैले लखेटेजस्तो देख्ने । आत्महत्या गरूँ लाग्नेजस्ता लक्षणले मानसिक रोगलाई इंगित गर्छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा ५५ लाख मानिस मानसिक रोगबाट प्रभावित छन् । यो कहालीलाग्दो सत्यबोधले कतै हामी पनि मानसिक रोगी त छैनौं ? स्वाभाविक प्रश्न तेर्सिन्छ ।
पृष्ठभूमिमा गोधूलिको रङ । सेता, साना–ठूला पुतलीहरूको उडान । पुस्तकको आवरण सुन्दर देखिन्छ । तीन खण्डमा लेखकले विषयलाई बाँडेका छन् । ४० वर्षमा उनले मानसिक बिरामीहरूको बीचमा बिताउँदाका अनुभवलाई पहिलो खण्डमा राखेका छन् । जसमा उपचारका क्रममा भेटिएका बिरामी र रोगका प्रकृतिलाई प्रस्तुत गरेका छन् । एउटा मानसिक चिकित्सक हुनुको धर्म उनले मज्जाले निर्वाह गरेका छन् । रुसबाट मानसिक स्वास्थ्य अध्ययन गरेर नेपालमै बिरामीको सेवा गर्छु भनेर प्रतिबद्ध डा. शर्माले सुरुआती दिनमा भोग्नुपरेका अप्ठ्यारा, हैरानी र संघर्षलाई दोस्रो खण्डमा व्यवस्थित गरेका छन् । त्यस्तै, आफ्ना निजी प्रसंगहरूलाई पुस्तकको अन्त्यमा, तेस्रो खण्डमा प्रस्तुत गरेका छन् ।
सबैलाई आफ्नो संघर्ष ठूलो र चुनौतीपुर्ण लाग्नु स्वाभाविक पनि हो । डा. शर्माले पनि आफ्ना बाल्यकालीन दिनहरू, अध्ययनका क्रममा भोग्नुपरेका हैरानीहरू, प्रतिस्पर्धा, धोका, अभावहरूलाई सरस तवरले पुस्तकमा प्रस्तुत गरेका छन् । स्याङ्जा जिल्ला नागडाँडामा जन्मिएका डा. शर्माले रुसमा गएर आफ्नो अध्ययनलाई पूरा गरेका थिए । मानसिक स्वास्थ्य के हो ? यसको उपचार सम्भव छ भन्नेबारे नेपाली समाज अनभिज्ञ रहेको समयमा डा. शर्माले आफ्नो करियर सुरु गरेको प्रसंग निकै रोचक छ ।
यस पुस्तकको अर्को रोचक पक्ष के हो भने, मानसिक बिरामीका बारेमा उल्लेख गरिएका घटनाहरूको फेहरिस्त । बिरामीका सामान्यदेखि अपत्यारिला स्वभाव र व्यवहारहरूले पाठकको ध्यान तान्छ । पुस्तकमा एउटा यस्तो बिरामीबारे पनि उल्लेख छ, जसलाई सधैं डर मात्र लागिरहन्थ्यो । भीडभाडमा जान नसक्ने । गाडी देख्दा मुटु भरंग हुने । त्यो बिरामीको उपचार कसरी भयो भनेर डा. शर्मा बताउँछन् । बिरामीको बाल्यकालदेखिका घटनाहरू केलाउँदा पनि कारण पत्ता नलागेर डा. रन्थन्छिन् । अनेकौं प्रयासमा बिरामीभित्रको ग्लानि, पश्चात्ताप पत्ता लगाउँछन् । बिरामीले कुनै समय वर्कसप चलाउने गरेको पत्ता लाग्छ । एकपटक उसले कामदारलाई जबरजस्ती पेट्रोल ट्यांकभित्र पसेर टाल्न लगाउँदा दुर्घटना हुन पुग्छ । ट्यांक विस्फोट भएर कामदारको मृत्य हुन्छ । यो घटना बिरामीको अन्तस्करणमा पश्चात्ताप बनेर रहेकाले मानसिक समस्या देखिएको पत्ता लाग्छ । निरन्तरको काउन्सिलिङ र औषधिले बिरामीको अवस्थामा सुधार आउँछ । यसले मानिसमा हुने मानसिक विकारको कारक तत्त्वमा पश्चात्ताप पनि एक हुन सक्ने निर्क्योलले पाठकलाई सचेत गराउँछ ।
अर्का विरामीले श्रीमतीलाई शंका गर्ने, कुटपिट गर्ने गरेपछि उपचारका लागि लगिन्छ । औषधि र डाक्टरको काउन्सिलिङबाट रोग कम भएर जान्छ । यस्तैमा बिरामीकी आमाले औषधि छुटाइदिन्छिन् । रोगको मात्रा बढेर जाँदा अन्ततः श्रीमतीलाई उसले काटेर मार्छ । चिया पकाएर खाइरहेको अवस्थामा परिवारले फेला पारेको सन्दर्भ डरलाग्दो छ । यस प्रसंगले डक्टरको सल्लाहबेगर आफूखुसी बिरामीमाथिको निर्णय लिने प्रवृत्तिलाई निरुत्साहित गर्छ ।
धेरैजसो घटनामा निरन्तर औषधि सेवन र काउन्सिलिङबाट मानसिक रोग ठीक भएको देखिन्छ । एकपटक मानसिक रोग देखा परेपछि निको हुँदैन भन्ने भ्रमलाई पुस्तकमा उल्लेख गरिएका प्रसंगहरूले गलत साबित गरिदिएका छन् । कतिपय घटनाहरूमा भने मानसिक रोगप्रतिको मानिसको परम्परागत धारणाले जटिलता थपिदिएको उल्लेख छ । पुस्तकमा घटना विवरण पढिरहँदा दैवी प्रकोप, शत्रुले भेदेको, भूतप्रेतको कारण मान्छेमा डराउने, सामान फाल्ने, आत्महत्याको प्रयास गर्ने, अरूलाई कुटपिट गर्ने, अत्यधिक शंका गर्ने, गतिविधि दोहोर्‍याउने, एकोहोरिनेजस्ता लक्षण देखिएको अन्धविश्वास अझै पनि नेपाली समाजमा रहेको देखिन्छ ।
शब्दको अगाडिको अक्षर मात्रै उच्चारण गर्ने, बाँकी शब्द उच्चारण नगर्दै जिब्रो बटारिने भोकल टिक डिसअर्डर, रोक्दा रोक्दै फोहोरी शब्द उच्चारण गर्ने टुरेट सिन्ड्रमबारे हामीमध्ये धेरै अनभिज्ञ छौं । यस्ता समस्याको हल हुन्छ भन्ने त झन् परको सोच हो । कोही हात धोइरहन मन लाग्ने, हात रगडिरहने, रुमालले पुछिरहने, चस्मा मिलाइरहनेजस्ता क्रियाकलाप गरिरहन्छन् । उनीहरू आफूले गलत गर्दै छु भन्ने थाहा भए पनि नियन्त्रण गर्न नसक्ने समस्याबाट ग्रस्त हुन्छन् । यसलाई ओसीडी भनिन्छ । बिरामीले मस्तिष्कमा आफ्नै संसार रचना गर्ने गर्छन् । आफ्नै तवरले गतिविधि गर्छन् । जुन गतिविधि समाजमा अपाच्य हुन्छ । अस्वीकृत हुन्छ । यसरी मानिसमा देखिने विविधखालको मानसिक रोग र त्यसको निराकरणमा परिवारले खेल्नुपर्ने भूमिकाबारे पुस्तकमा डा. शर्माले आफ्नो चिकित्सकीय अनुभव उजागार गरेका छन् ।
यस पुस्तकले मानसिक विकृतिको कारक तत्त्वहरूबारे पाठकलाई सचेत गर्न मद्दत गरेको छ । त्यस्तै, मानसिक रोगी हुनेबित्तिकै बाँकी जीवन ध्वस्त नहुने कुरा पनि किताबले बुझाउँछ । निरन्तरको औषधि सेवन र काउन्सिलिङबाट जटिलभन्दा जटिल रोग पनि सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने विश्वास पुस्तकले दिलाएको छ । आवश्यक छ मात्र हाम्रो प्रतिवद्धता । बिरामीमाथिको ‘केयरिङ’ । हामी, हाम्रा परिवारका सदस्य अथवा जो कोही पनि मानसिक समस्याबाट गुज्रिरहेको हुन सक्छ । त्यस्ता रोगीहरूको पहिचान, शीघ्र उपचारमा हाम्रो चेत खुलाउने उद्देश्यमा यो पुस्तक केन्द्रित छ । लेखकले प्रस्तुतिमा लय दिन सकेको भए पठन थप सहज हुन्थ्यो । सिलसिलेबार ढंगबाट विषयवस्तु पस्कनबाट पुस्तक चुकेको छ । भाषामा मीठास खोज्ने पाठकले पुस्तक यत्तिकै थन्क्याउने सम्भावना पनि छ ।

Page 23
कोसेली

‘भाग्य’ को खेल

- राजु धिसिङ

तेक्वान्दोकी मनिता शाही र उसुकी निमा घर्तीमगर दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितिसकेका खेलाडी हुन् । आइतबार सुरु हुने १३ औं सागमा उनीहरू त्यो सफलता दोहोर्‍याउने अभियानमा छन् । जनमुक्ति सेनाको सिन्धुली क्याम्पमा तीन वर्ष बिताएकी अनुपमा मगर पनि कराँतेमा स्वर्णकै कोसिसमा छिन् ।

निमा घर्तीमगर १९ वर्षकी छन् । उनीभन्दा नौ वर्ष जेठी हुन्, अनुपमा मगर । र, अनुपमाभन्दा नौ वर्ष बढी उमेरकी हुन् मनिता शाही । यी तीनै जना आ–आफ्नै विशेषता र बेग्लाबेग्लै स्वभावका छन् । अनुपमा टिकटकमा खुबै सक्रिय हुने छिन् । गीत गाउँछिन् र मोडलिङ गर्छिन् पनि । मनिता २० महिनाकी छोरीलाई हुर्काइरहेकी छन् । निमा पढाइ र खेलमै केन्द्रित छिन्, बेलाबेला फेसबुकमा देखिन्छिन् ।
तीन जनाको एउटै विशेषताचाहिँ– यी सबै खेलाडी १३ औं सागमा स्वर्णका दाबेदार हुन् । निमा उसु खेल्छिन् । मनिता तेक्वान्दो । अनुपमा कराँते । अहिले सबथोक छाडेर उनीहरू १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा जुटेका छन् । औपचारिक रूपमा आइतबार सुरु हुने सागमा घरेलु मैदानमा सहभागी हुने मात्रै उनीहरूको लक्ष्य होइन । मार्सल आर्ट्सका यी तीनै खेलाडी देशलाई स्वर्णपदक दिलाउन चाहन्छन् । दक्षिण एसियाली खेलकुदको महाकुम्भमा तेस्रोपल्ट सहभागी हुने अवसर पाएकी मनिता काठमाडौंकी रैथाने हुन् । उनले १० औं साग (कोलम्बो २००६) मा स्वर्ण र ११ औं साग (ढाका २०१०) मा रजत जितेकी थिइन् । १५ औं एसियाली खेलकुद (दोहा २००६) मा पनि कांस्य हात पारेकी उनी यो सागमा प्रतिस्पर्धा गर्न भने अमेरिकादेखि आइपुगेकी हुन् । असन–डल्लुकी ३७ वर्षीया उनको बिहेपछि घर फेरियो र त्यो पनि राजधानीकै कीर्तिपुर । अहिले छोरी मेल्बिना कीर्तिपुरमै बुबासँग हुर्किरहेकी छन् ।
रोल्पाली छोरी हुन्, निमा । उनी ६ वर्षको छँदै अभिभावकसँगै राजधानी छिरेकी हुन् । गुवाहाटी र सिलोङमा तीन वर्षअघि भएको १२ औं सागमा नेपालले तीन स्वर्णपदक जितेको थियो । त्यसमा पहिलो स्वर्ण निमाले चुमेकी थिइन् । त्यस बेला जम्मा १६ वर्षकी थिइन् । स्वर्ण जितेर फर्केको अर्को महिना एसएलसी दिइन् । अहिले स्नातक तहमा पुगेकी छन् । त्यस बेला कुराकानीमा उनी बाल्यकालमै रहेको प्रस्टै झल्किन्थ्यो । परिपक्व भइरहेकी उनी दोस्रोपल्ट सागमा स्वर्ण जित्ने उसुकी पहिलो खेलाडी हुने अभियानमा छिन् ।
उदयपुरकी हुन्, अनुपमा । उनी स्कुल पढ्ने १४ वर्षको उमेरमै नाचगानमा आकर्षित भएर माओवादीको पूर्णकालीन कार्यकर्ता भएकी थिइन् । त्यो २०६२ साल हो । कुन महिना भन्ने उनलाई पनि याद छैन । पढाइमा लाग्ने त्यो उमेरमै उनले माओवादी जनयुद्धको बेला गोली, ग्रिनेड बोकेर तोकिएको ठाउँमा पुर्‍याउने काम गरिन् । अर्को वर्ष (२०७३ साल जेठ) मा लोकतन्त्र आयो । गृहयुद्ध रोकियो । उनी जनमुक्ति सेना (पीएलए) को सिन्धुलीस्थित डिभिजन कार्यालय पुगिन् । त्यहाँको तीनवर्षे बसाइमै कराँते सिक्न थालेकी उनी पहिलोपल्ट सागमा प्रतिस्पर्धा गर्दै नेपाललाई पदक दिलाउने योजनामा छिन् ।
आमा बितेपछि घर लेखानी पुगेर १५ दिनको काम २ दिनमा सकाएर अनुपमा नम्बर डिभिजन कार्यालय सिन्धुली फर्केकी थिइन् । अनि उनलाई बस्नै मन लागेर र निस्किइन् । पुगिन् बालाजु डोजो, जहा ध्रुवविक्रम मल्लसँग कराँते सिकाइलाई निरन्तरता दिन थालिन् । उनलाई सेना समायोजनमा माओवादी पूर्वलडाकुको रूपमा नेपाली सेनामा जागिर खाने अवसर पनि थियो । तर, उनले स्वैच्छिक अवकाश रोजिन् । त्यस बेलासम्म पनि उनलाई खेलाडी बन्छु भन्ने लागेको थिएन ।
अनुपमाले खासमा शरीरको तौल घटाउन कराँते खेल्न थालेकी थिइन् । तौल घटाइन् पनि । ६० केजीबाट ४९ केजीको भइन् । प्रतियोगितामै सहभागी हुन थालिन् । जनमुक्ति सेनाको आन्तरिक खेलकुदमा पहिलो हुनेले २०६५ सालमा भएको पाँचौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो । जनमुक्ति सेनाका खेलाडीको त्यो सहभागिताले देशमा ठूलै राजनीतिक हलचल ल्याएको थियो । उनी त्यो खेलाडीमा परिनन् ।
भोजपुरकी मीरा राई पनि सिन्धुली क्याम्पमै थिइन् । साहसिक दौड (ट्रेल रनिङ) मा सफलता हात पार्दै मीरा विश्वमै चर्चित् भइन् । मीरा र अनुपमा सिन्धुलीको भेटयता मिल्ने साथी बने । एकअर्कालाई ‘दोस्त’ भनेर बेलाउँछन् । यी २८ वर्षीया अनुपमाले १७ औं एसियाली खेलकुद (इन्चोन २०१४) मा पनि प्रतिस्पर्धा गरेकी थिइन् । त्यस बेला करातेको विवाद उत्कर्षमा थियो र उनी डोजोमा गरेको तयारीबाटै सीधै कोरिया पुगेकी थिइन् । उनीजस्तै पुगेकी विमला तामाङ त्यो एसियाडमा पदक (कांस्य) जित्ने एक्लो नेपाली भएकी थिइन् ।
यसपालि अनुपमा अरू खेलाडीसँगै क्लोज क्याम्पमा बसेर तयारी गरिरहेकी छन् । ‘क्लोज क्याम्पमा होटलमै बस्नुपर्ने रहेछ । सुरुमा घर जान पनि पाइँदैन भन्दा त कस्तो नरमाइलो लागेको थियो,’ २८ वर्षीया उनले भनिन् । उनी अहिले क्लोज क्याम्पमा सहज मानिरहेकी छन् । उनले गत महिना ढाकामा भएको दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा रजत जितेकी थिइन् । यसले पनि १३ औं सागमा उनलाई उत्साहित बनाएको छ । ६८ केजीमाथि प्रतिस्पर्धा गर्न लागेकी उनले भनिन्, ‘तयारी राम्रै भइरहेको छ । सफलता प्राप्त गर्नका लागि उच्च स्तरको प्रदर्शन गर्न सक्दो कोसिस गर्नेछु ।’
नाच्ने गाउने मोहले रहरैरहरमा माओवादीमा पुगेकी अनुपमा सिन्धुली क्याम्पबाट बाहिरिएपछि पार्टीमा सक्रिय छैनन् । उनको पदकको ग्राफ एकनासको छ । छैटौं राष्ट्रिय खेलकुदमा कांस्य, सातौंमा रजत र आठौंमा स्वर्ण । त्यही स्वर्ण र छनोटमा पाएको सफलताले उनलाई सागसम्म डोर्‍याएको हो । करातेको प्रिमियर प्रतियोगिता खेलिसकेकी उनलाई घरेलु च्याम्पियनसिपमा हात पारेको स्वर्णपदकको संख्या याद नै छैन । ‘धेरै जितेकी छु । तर कति खेल्यो र कति जित्यो भन्नेचाहिँ याद छैन,’ हाँस्दै भनिन् ।
मनिता र अनुपमामा एउटा समानता छ । दुवैले १७ वर्षको छंँदा खेल सुरु गरेका थिए । यसबीच मनिता नेपाली तेक्वान्दोको स्वर्णिम युगको खेलाडी बनिन् । केही वर्षअघिसम्म यी ५ फिट ७ इन्च अग्ली खेलाडीलाई घरेलु प्रतियोगितामा चुनौती दिने खेलाडी थिएनन् । उनी १७ औं एसियाडपछि आफैं खेलबाट टाढिएकी थिइन् । अमेरिका पुगिन् । विवाह गरिन् । छोरी जन्माइन् । यी सबै जिम्मेवारीलाई केही समयका लागि अलग्गै राखेर उनी फेरि किक र पन्च प्रहार गर्न फर्किएकी हुन् । इन्चोन एसियाडयता पहिलोपल्ट देशको प्रतिनिधित्व गर्न लागेकी मनिता भन्छिन्, ‘मैले धेरै खेलें । अब अरूले अवसर पाउनुपर्छ भन्ने लाग्यो । त्यसैले चार वर्ष तेक्वान्दोबाट अलग भए । फर्किन्छु भन्ने सोचेकी थिइनँ ।’ पतिको प्रेरणा र साथीहरूको हौसलतामा छोरी जन्माएपछि पनि प्रतिस्पर्धा गर्ने हिम्मत आएको उनले बताइन् । क्लोज क्याम्पमा बसेयता उनले कीर्तिपुरमा रहेकी छोरीलाई देख्न नपाएको एक महिनाभन्दा बढी भयो ।
छोरी जन्माएको एक वर्षपछि एरिनामा पुनरागमन गर्दै उनले गत चैतमा भएको आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितिन् । तर, २० भदौमा भएको सागको छनोटमा असफल भइन् । अनि छोरीको हेरचाहमा लागिन् । छनोट भएका खेलाडीले १८ वर्षभन्दा कम उमेरको भएकीले खेल्न नपाउने भइन् । यसले मनितालाई अर्को मौका दिलायो । फेरि ३ कात्तिकमा भएको छनोटमा सफलता हात पार्दै उनले ५ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरिन् । लगत्तै भर्जिनिया (अमेरिका) उडिन् । उतैबाट चीनमा भइरहेको नेपाली टिमको क्लोज क्याम्पमा पुगिन् । र अहिले स्वदेश फर्केर सागमा तेस्रोपल्ट प्रतिस्पर्धा गर्ने संघारमा आइपुगेकी छन् ।
छोरी हुर्काउनु सजिलो कि खेल्नु ? ‘बच्चा हुर्काउनु सबभन्दा गाह्रो रहेछ,’ दैनिक ६ घण्टा अभ्यास गरिरहेकी मनिताले हाँस्दै जवाफ दिइन् । आफ्नो पुनरागमनबारे भन्छिन्, ‘दीपक गुरु (विष्ट) ले यस्तै उमेरमा सफलता हात पार्नुभयो भने हामी (छोरी मान्छे) ले किन नसक्ने भन्ने लाग्यो ।’ छनोटबाट बाहिरिएर फेरि फर्कंदा तयारी गर्ने समय कम भएको उनको अनुभव छ । ‘पहिलाभन्दा स्पिड घटेको छ । तर, बिस्तारै राम्रो भइरहेको छ । फेरि एकपल्ट स्वर्ण जित्ने कोसिस गर्नेछु,’ उनले भनिन् । २० वर्षे करिअरको अनुभवलाई उपयोग गर्न सके उनलाई मिडलवेट (७३ केजीमुनि) स्वर्ण चुम्न गाह्रो नहुन सक्छ ।
१९ वर्षीया निमाले १२ औं सागको स्वर्ण जित्दाको बेला कोट्याइन्, ‘साह्रै चकचके थिएँ । अरूलाई एकदमै दुःख दिन्थे । ती दिनहरूलाई लिएर सम्झँदा हाँसो लाग्छ । अहिले परिपक्व भएकी छु । अरूलाई दुःख दिन्नँ ।’ उनलाई पहिलोपल्टै देशको प्रतिनिधित्व गर्ने अवसर पाउँदा स्वर्ण जित्छु भन्ने लागेको थिएन । उनलाई भाग्यले पनि साथ दिएको थियो । उनी १३ औं सागमा त्यही सिलोङको सफलता दोहोर्‍याउने अभियानमा छिन् । यसका लागि उनले दैनिक ८ घण्टासम्म अभ्यास गरेकी छन् । ‘मेरो खेल पहिलाभन्दा राम्रो भएको छ । त्यसैले फेरि स्वर्ण जित्ने कोसिस गर्दै छु,’ लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भेटिएकी उनले भनिन् । उनी भारतीय खेलाडीलाई नै आफ्नो मुख्य प्रतिद्वन्द्वी मान्छिन् । उनले थाउलको नान छ्वान/नान ताओ स्पर्धामा भारतीय खेलाडीलाई पछाडि पार्दै सिलोङमा सफलता हात पारेकी थिइन् । यसपालि पनि त्यही स्पर्धामा चुनौती पस्कँदै छिन् ।
निमा १४ वर्षको छँदै १७ औं एसियाडमा छनोट भएकी थिइन् । तर, अन्तिम समयमा उनको स्पर्धामा खेलाडी नपठाउने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गरिदियो । त्यसपछि झन्डै दुई साता स्कुल नै नगएकी उनी घरमै रुँदै बसेकी थिइन् । त्यसको दुई वर्षपछि सागमा पाएको स्वर्णले उनलाई अर्कै तहमा पुर्‍यायो । त्यो च्याम्पियनको स्तरमा रहिरहने चुनौती उनलाई यसपालि आएको छ । ६ वर्षअघि लुम्बिनी च्याम्पियनसिपमा तेस्रो भएयताका सबै घरेलु प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी उनले १२ औं सागमा स्वर्ण जितेयता तीनपल्ट मात्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् ।
Twitter:@rghising

कोसेली

सधैं गतिशील

- ध्रुव तुलाधर

ॅओल्ड इज गोल्ड,’ दक्षिण एसियाली खेलकुदमा वैकुण्ठ मानन्धरले स्वर्ण पदक जितेपछि भोलिपल्टको भारतीय दैनिकहरूले लेखे । ‘उमेर ३५, दौड्ने २०’ भन्दै समाचारमा उनको खुबै तारिफ भयो । तन्नेरी धावकले जसरी दौडिएको भनेर चर्चा गरिएको थियो । कोलकाता रंगशालामा ३३ वर्षअघि पाएको वैकुण्ठको त्यो सफलताको चर्चा अहिले पनि उत्तिकै छ ।
जब दक्षिण एसियाली खेलकुद (साग) आउँछ, तब उनको त्यो स्वर्णको कथा कोरिन्छ । तत्कालीन दक्षिण एसियाली महासंघीय (साफ) खेलकुद, अहिले परिवर्तित नाम सागको तेस्रो संस्करण भारतको कोलकातामा भएको थियो । सन् १९८७ मा वैकुण्ठले कोलकातामा रचेको म्याराथनको कीर्तिमान तेजस्वी छ । पहिलो र दोस्रो साफमा स्वर्ण जितिसकेकाले स्वर्णको ह्याट्रिक गर्ने पालो थियो । तयारी राम्रो थियो । त्यसले गर्दा टाइमिङ सुधार्नुपर्ने दबाब उत्तिकै थियो उनमा ।
कोलकाता जानुअघि सबैको हौसला र साथ पाएका थिए उनले । तत्कालीन राजा वीरेन्द्रले समेत उनलाई हौसला भरिदिएका थिए । प्रशिक्षणमा विशेष प्राथमिकता गराइदिएको थियो । जर्मन र रसियन प्रशिक्षकको निगरानीमा थिए । वैकुण्ठ सम्झन्छन्, ‘त्यसले मलाई धेरै ऊर्जा दियो । मैले पनि केही गर्नुपर्छ भन्ने अठोट रह्यो । त्यो कोलकाताको ट्र्याकमा देखाएँ । तेस्रो स्वर्ण जितें । कीर्तिमान पनि बनेछ । त्यो मेरा लागि एउटा बयान गर्न नसकिने क्षण थियो । कोलकातामै मेरो चर्चा चुलिएको थियो ।’
उनले २ घण्टा १५ मिनेट ०३ सेकेन्डको म्याराथन टाइमिङ निकालेका थिए । दोस्रो साफ (१९८५) मा कायम गरेको भन्दा ७ मिनेट सुधारेका थिए । जबकि २ घण्टा २२ मिनेट ०७ सेकेन्डमा ढाकामा उनले स्वर्ण जितेका थिए । त्यतिबेला नेपालको स्वर्ण जित्नेमा वैकुण्ठ मात्र रहे । लामो दूरीमा नेपाली धावकलाई पहिलो र दोस्रो संस्करणमा कमैले चुनौती दिन्थे । सन् १९८४ को काठमाडौं साफमा २ घण्टा २७ मिनेट ११ सेकेन्डबाट स्वर्ण जित्दा वैकुण्ठलाई चुनौती दिने आफ्नै देशका अर्जुन पण्डित थिए । अर्जुनले २ घण्टा ४२ मिनेट लगाएर रजत जितेका थिए ।
तेस्रोमा भने उनलाई श्रीलंकन धावक समरासिंघेलाई कडा टक्कर दिएका हुन् । वैकुण्ठले सम्झिए, ‘उनी म सँगसँगै दौडिरहेका थिए । उसलाई त कुनै पनि हालतमा जित्छु भन्ने मेरो ध्यान थियो । अन्तिमतिर गति बढाएँ । उनलाई पछाडि पारें ।’ चौथो संस्करण (इस्लामाबाद, १९८९) मा उनै समराले वैकुण्ठलाई पछाडि पार्दै स्वर्ण जिते पनि टाइमिङ (२ः१९ः४२) मा उछिन्न सकेनन् । त्यसमा वैकुण्ठले कांस्य पदक जिते । उनी चाहन्थे, आफ्नै चेला टीकाबहादुर बोगटीले पदक जितुन् भन्ने तर त्यस्तो भएन । चौथोदेखि आठौंसम्म वैकुण्ठको म्याराथन पथलाई टीका, विसनसिंह राउत, गणेशबहादुर राईले पछ्याएका थिए । कोलम्बो (१९९१) र ढाका (१९९३) मा कांस्यमा चित्त बुझाएका टीकाले मद्रासमा स्वर्ण जिते ।
२० वर्षपछि नेपाली भूमिमा साग आयोजना हुँदै छ । साग पूर्वसन्ध्याले आम खेलकर्मीलाई चटारो छ । त्यही मेसोमा भेटिँदा वैकुण्ठ भने फुर्सदिला देखिए । देशकै लिजेन्ड धावक भए पनि उनी भूमिकाविहीन छन् । ६८ वर्षे वैकुण्ठको दशरथ रंगशालामा धाउनेक्रम रोकिँदैन । बिहान सबैरे आइपुग्छन् । पुनर्निर्माणको अन्तिम चरणमा रहेको रंगशाला फन्का हाल्छन् । साथीभाइ भेट्छन्, चेलाहरूसँग गफिन्छन् अनि कलंकी सुनार गाउँस्थित घर फर्कन्छन् । डेढ दशकअघि मुटुको भल्भ फेरेका उनको कर्म मैदानमा आउन खुट्टा रोकिँदैन ।
झन्डै चारपल्ट वैकुण्ठ रंगशाला पुनर्निर्माण भएको आफैंले देखेका छन् । आठौं साफमा पनि पुनर्निर्माण भएको थियो । त्यसअघि २०३७ साल र २०२८ सालमा पनि पुनर्निर्माण गरिएको थियो । २०२८ सालमा त उनीहरू दौडिएर रंगशाला र कभर्डहलको उद्घाटन गरेका थिए । त्यसैले रंगशालाप्रति उनको मोह अत्यधिक छ ।
१३ औं सागमा तपाईको कुनै भूमिका छैन ? एक छिन उनी अनुत्तरित भए । भने, ‘मलाई कहाँ भूमिका दिन्छन् । मेरो डाह गर्ने धेरै छन् । म छुच्चो छु । मनमा लागेको बोल्छु । त्यो खेलकुदका शासकलाई मन पर्दैन, पच्दैन । म आशा पनि गर्दिनँ । नयाँ पिँढीले पाउनुपर्छ । उचित मान्छेलाई उचित ठाउँ दिइनुपर्छ तब मात्र खेलकुद विकास हुन्छ ।’
साग उद्घाटनको दिन ओलम्पिक टर्च बाल्न पाउनेमा भने विश्वस्त छन् । ‘ओलम्पियन अनि यही सहरको वासिन्दा भएको नाताले ओलम्पिक टर्च बाल्न पाउनु मेरो अधिकारमा पर्छ,’ चारपल्ट ओलम्पिक खेलेका वैकुण्ठले सुनाए ।
दक्षिण एसियाली खेलकुद नजिकिएसँगै सधैं उनको मनमा भुटभुटी चल्छ । आफ्नो नामको कीर्तिमान अरू कुनै देशका खेलाडीको नाममा नजाओस् । कीर्तिमान नेपालकै धावकको नाममा लेखिएको देख्न चाहन्छन् उनी । सम्भव छ त ? यस किसिमको छोटो तयारीले कीर्तिमान तोड्न गाह्रो हुने उनी ठोकुवा गर्छन् । ‘३–४ महिनाको तयारीले कहाँ पुग्छ ? लामो क्याम्पमा राख्नुपर्छ । त्यो पनि खेलाडीको ट्रेनिङ एज हुन्छ । त्यतिबेला राम्रो प्रशिक्षण पाउनुपर्छ । तब नतिजा त्यहीअनुसार दिन सक्छ । नत्र सम्भव हुँदैन,’ लामो दूरीका धावक तयार पार्न सानै उमेरदेखि हरेक पक्षमा ध्यान दिनसके नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमै राम्रो सफलता पाउने उनको बुझाइ छ ।
देशको भौगोलिक बनावटका कारण नेपाली दौडमा सफल हुने वैकुण्ठको अनुभव छ । ‘दौडका लागि हाम्रो ‘जिन’ नै राम्रो छ । अफ्रिकी देशले जस्तै योजना बनाएर अगाडि बढ्नुपर्छ । तब मात्र हामी धावकहरूले भरिएको देश हुन सक्छौं,’ उनी भन्छन्, ‘नीलेन्द्रराज श्रेष्ठले ल्याएको सहर म्याराथनको अवधारणामा जान सके त्यसले खेलाडी र देशको आर्थिक र सांस्कृतिक पक्षको पनि विकास हुन्छ ।’
सागमा लगातार तीन स्वर्ण जित्नुको रहस्य के थियो त ? खेलाडीमा हुनुपर्ने गुण थियो, ‘अनुशासन, मिहिनेत र देशप्रति समर्पण ।’ यिनै कुराले उनको खेलाडी जीवनलाई बाँधिरह्यो । आफ्नो खेलप्रति कुनै पनि समय विचलित भएनन् । अनि अर्को उनलाई तत्कालीन शासकहरूको बलियो साथ रह्यो । राजा वीरेन्द्रले समेत उनको ट्रेनिङबारे चासो राख्थे अनि हौसला भर्थे रे । त्यसले उनलाई राम्रो गर्न प्रेरित गरिरह्यो । भन्छन्, ‘जहिल्यै मैले केही गरेर देखाउनुपर्छ भन्ने लागिरहन्थ्यो ।’
दोस्रो साफमा स्वर्ण जितेपछि प्रबल गोर्खा दक्षिणबाहु पाए भने तेस्रो जितेपछि विख्यात त्रिशक्तिपट्ट थापे । उनले राजदरबारमा पदक थाप्न जाँदाको एउटा घटना सुनाए, ‘राजा (वीरेन्द्र) ले विशिष्ट श्रेणीमा पर्ने पदक दिन चाहेका रहेछन् । परिषद्बाट सिफारिस अर्कैमा गएछ । अनि मलाई राजाले छुट्टै बोलाएर भने— तिमी देशकै ठूलो सम्पत्ति हौं । देशको नाम फैलायौं । भन तिमीलाई के आवश्यक छ, के गर्नुपर्छ ? खेलाडीका लागि धेरै सुविधा छैन ।’ मैले भनें, ‘सरकार, ठीक छ । मलाई मात्र गरेर हुँदैन । अरू धेरै खेलाडी छन् । मेरोभन्दा कमजोर स्थिति भएकालाई हेर्नुपर्छ ।’ राजाले ‘हुन्छ’ भने । मलाई १० हजार रुपैयाँ दिए । त्यतिबेला पदक मात्र दिने चलन थियो । मलाई पैसा लिनु कि नलिनुजस्तो भयो । तर लिएँ । योगदानको कदर गरिएको हो भन्ने लाग्यो । त्यो जमानामा १० हजार ठूलो रकम थियो ।’
twitter:@tuladhardhurba

Page 24
कोसेली

सुरुमै सुक्खा

प्रमोसनमा लाखौं खर्च गरिएका ‘स्टार’ का फिल्मसमेत रिलिजको पहिलो दिनबाटै दर्शकविहीन हुन थालेका छन् । नेपाली फिल्मप्रति यतिबिघ्न वितृष्णा किन ?
- गोकर्ण गौतम

सिटी सेन्टरस्थित बिग मुभिज् पुग्दा बिहानको ९ बज्न केही मिनेट मात्र बाँकी थियो । हत्तारिँदै काउन्टर पुगेर ‘च च हुई’ को टिकट मागें । टिकट विक्रेता युवतीले कम्प्युटरको स्क्रिन मतिर फर्काइदिइन्, सिट जति सबै हरियो । अर्थात् एउटै टिकट बिकेको रहेनछ, नत्र रातो हुन्थ्यो । चार–पाँच जना मात्र दर्शक आए भने हलले फर्काउने गर्छ, त्यही भएर सोधें, ‘अरू आउँदै नआएका कि आएर फर्काउनुभएको ?’ उनले हल्का मुस्कानसहित जवाफ दिइन्, ‘नाइँ, सोध्न आउनुभएकै तपाईं मात्र हो ।’
यो हो, ‘च च हुई’ रिलिजको पहिलो दिन अर्थात् मंसिर ६ गतेको कुरा ।
आफूलाई समीक्षा लेख्नुपर्ने, बिग मुभिजबाहेक क्यूएफएक्ससहित अन्त कुनै मल्टिप्लेक्समा बिहानको शो थिएन । तर पहिलो शो नै क्यान्सिल ! यसको बजेट २ करोड रुपैयाँ भनिएको छ । विदेशमा समेत सुटिङ गरिएको, चकलेटी हिरो आर्यन सिग्देलको अभिनय । प्रमोसनमा कलाकारले प्रशस्त समय दिएका । निर्माताले दिल खोलेर खर्च गरेका । त्यस हिसाबले पनि कम्तीमा प्रदर्शनको पहिलो दिन नै हलमा यसरी खडेरी लाग्नु नपर्ने । म यस्तै ठान्थें/ठान्छु तर दर्शकले ‘बाल’ नदिएपछि कसको के लाग्छ ? ‘बिहानीले दिनको संकेत गर्छ’ भनेझैं त्यसपछि पनि फिल्मको व्यापार उकासिन सकेन ।
स्टारडम भएका भनिएका निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत फिल्म ‘घामड शेरे’ ले पनि करिब यस्तै दुर्दशा भोग्यो । सुरुमा कात्तिक ८ गते रिलिज हुने तय थियो । अन्तिम समयमा सर्‍यो । मल्टिप्लेक्समा पर्याप्त शो नपाएकाले आपनिङमा असर पर्ने भन्दै दुई साता फिल्म सारियो । सरेपछि सो राम्रै पायो तर पहिलो दिनबाटै दर्शकको अभाव सामना गर्नुपर्‍यो । सुरुआती तीन दिनमा दुई करोड बराबरको ग्रस कलेक्सन गर्ने आशा थियो निर्माण पक्षको तर कुल व्यापार नै यसको एक तिहाई पुग्न मुस्किल भयो । जबकि यस फिल्मको ‘साली मन पर्‍यो...’ गीत लोकप्रिय भएको थियो । तैपनी दर्शक हलमा तानिएनन् ।
‘च च हुई’ कै निर्देशक साम्तेन भुटियाको ‘साढे सात’, सुदर्शन थापाको ‘चंखे शंखे पखें’ लगायतका फिल्मको ‘फस्ट डे फस्ट शो’ नै रद्द भएर फर्केको तम्तमाइलो अनुभव छ मसँग । तर आफ्नो फिल्मप्रति दर्शकको विरक्तिप्रति अधिकांश निर्माता–निर्देशकमा चिन्ता देखिन्न । जस्तो ः दसैंमा अशोक शर्माले बडो तामझामका साथ आफैंले भनेको दिन ‘रातो टीका निधारमा’ रिलिज गरे । हलमा बडिगार्डसहित पुग्ने हिरोइन साम्राज्ञीको मुख्य भूमिका थियो । तर, कसैको केही जोर चलेन, पहिलो दिनबाटै सुक्खा लाग्यो । खासमा फिल्ममा त्यस्तो उल्लेख्य केही गुण थिएन, जसले दर्शकलाई तानोस् । शर्माको धुन भने अर्कै । कमजोरबोध त कता हो कता, उल्टै उपयुक्त रिलिज मिति नछानेकाले व्यापार बिग्रिएको जिकिर गरे ।
शर्मा मात्र होइन, हाम्रा बहुसंख्यक फिल्ममेकर आफूलाई चोख्याउन खोज्छन् । दोष अरूलाई थोपार्छन् । दर्शकले नबुझेको । हलले शो नदिएको । पानी परेको, घाम चर्किएको । मिडियाले समीक्षा लेखेर डुबाइदिएको आदि आदि... । बहानाको कुनै कमी छैन ।



मैले नेपाली फिल्म, फिल्ममेकर, दर्शकको रोजाइ/मनोविज्ञान, फिल्मको गुणात्मक पक्ष, व्यापारिक यथार्थलाई नजिकबाट नियालेको ९ वर्ष हुनै लागेछ । यस अवधिमा फिल्मको बजेट बढ्यो । कलाकारको पारिश्रमिक बढ्यो । मल्टिप्लेक्स बढे । फिल्ममेकर बढे तर सोही अनुपातमा न व्यापार बढ्यो, न त सिर्जनशीलता । व्यापारमा ‘छक्का–पञ्जा’ सिरिज अपवाद भएजस्तै सुन्दर सिनेमा निर्माणको हकमा ‘कालो पोथी’, ‘सेतो सूर्य’ अपवाद हुन् ।
नत्र वर्षमा ९० को हाराहारीमा फिल्म रिलिज हुनु, मुस्किलले ५ हिट हुनु, अरू ४–५ ले लगानी उठाउनु र बाँकी फ्लप हुनु हाम्रो नियति हो । मिडियामा हिटको प्रायोजित डंका पिटाएर भ्रम छर्नु र आत्मरतिमा रमाउनु अलग कुरा । संवादमुखी र प्रसंगबेगरका कमेडी, बासी रोनाधोना र रोमान्सबाट मूलरूपमा नेपाली फिल्म माथि उठ्न सकेको छैन । त्यसमाथि अलि गाँठवाला निर्माता छ भने विदेश पुगेर, त्यति नभए नेपालकै हिमालमा भए पनि गीत खिच्ने लहड छ । फिल्ममा त्यसको सान्दर्भिकताको मतलबै छैन, सिर्फ चमकधमक देखाउन पाए पुग्यो ।
पहिले पनि फिल्म फ्लप हुन्थे तर कम्तीमा सुरुआती दिनमा चल्थे । स्टार वा प्रमोसनको भूमिका हुन्थ्यो त्यसमा । अहिले व्यापार पूरापूर सखाप हुन थाल्यो । पहिले फिल्म फ्लप हुँदा पोस्टरको पैसा उठाएन भनिन्थ्यो । अहिले निर्माताहरू आफैं हँसिमजाक गर्न थाल्या छन्, ‘पोस्टर टाँस्ने माडकै पैसा उठाएन ।’ त्यो पनि अरू होइन, कथित ‘स्टार’ भनिएकाहरूकै फिल्म बक्सअफिसमा घुँडा टेकिरहेका छन् । सहरिया युवा फुस्तामा नम्रता श्रेष्ठको त्रेज छ भनिन्छ । नम्रताले आफ्नै लगानीमा फिल्म बनाइन्, ‘जाइरा’ । एक्सन भूमिकामा थिइन्, प्रमोसनमा देश दौडाहा गरिन् । फिल्मको बजेट अढाई करोड नाघ्यो तर ओपनिङमा दर्शकविहीन बन्नुपर्‍यो । हेरेर होइन, नहेरेरै दर्शकले ‘रिजेक्ट’ गरे । सामाजिक सञ्जालमा पछ्याउनु र हलसम्म पुगेर फिल्म हेर्नु, अलग रहेछ । चकलेटी हिरो सलिनमान बनियाँको ‘यात्रा’ पनि यस्तै विडम्बनाको सिकार भएको थियो ।
आखिर नेपाली फिल्मप्रति आमदर्शकमा यतिबिघ्न वितृष्णा किन ? बेलामौकामा फिल्मकर्मी र मिडियालाई घोचपेच गर्न माहिर निर्माता/कलाकार दीपकराज गिरीसँग यसको जवाफ रहेछ, ‘हामी नेपाली फिल्ममेकरले विश्वसनीयता गुमाएका छौं । ९० प्रतिशत नेपाली फिल्म हेर्नु भनेको ‘टर्चर’ हो । म आफैं प्रिमियरमा तनाव खेपेर फिल्म हेर्छु, बाहिर निस्केर राम्रो भन्नुपर्छ । तर दर्शकले पैसा तिरेर किन तनाव लिने ?’ उनलाई लाग्छ— फिल्ममेकरभन्दा दर्शक बाठा भइसके, प्रमोसनमा फन्डा गरेर, स्टारकास्ट राखेर अब हलमा चाप हुँदैन । दर्शकले यो सब झूट हो भन्ने बुझिसके ।



‘निश्चल–स्वस्तिमालाई समेत दर्शकले सुरुकै दिन रिजेक्ट गरे । युट्युबमा अपलोड गरिएका प्रचारात्मक कन्टेन्टलाई पनि वास्ता गरिन्न । त्यही कलाकारको अन्तरवार्ताले युट्युबमा लाखौं भ्युज पाउँछ, फेसबुक–इन्स्टाग्राममा हजारौं लाइक्स पाउँछ,’ गिरी अगाडि थप्छन्, ‘तर तिनै कलाकारको फिल्मचाहिँ सुपरफ्लप हुन्छ । अब त बुझ्नुपर्‍यो नि, दर्शक मनोरञ्जनको ग्यारेन्टी भए मात्र हल जान्छन्, कलाकार हेर्न जाँदैनन् ।’ यो सत्य कुरा हो तर दुर्भाग्यचाहिँ, हाम्रा फिल्मकर्मी आफ्नो फिल्म हेर्न हलमा कति दर्शक आइरहेका छन् भनेर होइन, मेरो कति ‘फलोअर्स’ छन् भनेर फुरुङ्ग छन् । ‘पब्लिक क्रेज’ ले नै दर्शक तान्ने हो भने अहिले पनि राजेश हमाल जत्तिको फ्यान फलोइङ कसको होला र ?  
गिरीलाई पत्याउने हो भने दर्शकहरू ‘ब्रान्ड’ रोज्न थालेका छन् । त्यो भनेको अहिलेको हकमा, ‘छक्का–पञ्जा’ सिरिज बनाएको गिरीकै टिम, ‘जात्रा’ र ‘जात्रै–जात्रा’ बनाएको रवीन्द्रसिंह बानियाँ–प्रदीप भट्टराईंको टिम अनि ‘कबड्डी’ सिरिजको रामबाबु गुरुङ–दयाहाङ राईको टिम । उनी स्विकार्छन्, ‘हाम्रो पनि एउटा फिल्मले निराश बनायो भने अर्को हेर्न दर्शक आउँदैनन्, हामी डेन्जरजोनमा जान्छौं ।’
प्रमोसनका क्रममा अनेक फुर्ती लगाउने, आशा देखाउने तर फिल्मचाहिँ फिक्का हुने प्रवृत्तिकै कारण हुनुपर्छ, ‘नेपाली फिल्मलाई माया गरिदिनुस्’ भनेर गरिने याचनालाई समेत दर्शकले हल्का ढंगले लिन थालेका छन् । लुट, कबड्डीपछि बल्लतल्ल बनेको नेपाली डायस्पोरासमेत भद्रगोल भएको छ । विदेशमा फिल्म जान्छ, कलाकार जान्छन् तर दर्शक आउँदैनन् । नेपाली बस्ने देशहरूमा नेपाली फिल्मको बजार विस्तार गर्न कम्मर कसेर लागिपरेको हाइलाइटस् नेपालले पनि हार मानिसकेको प्रतीत हुन्छ ।
निर्माताका लागि नेपाली फिल्मवृत्तमा ‘मुर्गा’, ‘भेडा’ जस्ता शब्द खुब चल्ती छ, उहिल्यैबाट । ‘मुर्गा’ को मुहार र फसाउने तरिका फरक भयो होला तर प्रवृत्ति उस्तै छ । गिरीका अनुसार निर्देशकले पटकथा अब्बल बनाउन होइन, निर्माता फसाउन ज्यादा तनमन खर्चन्छन्, निर्माताचाहिँ कथा सुनेर अनेक लोभमा बुझ्दै नबुझी पैसा खन्याउँछन् । यस्तै पटके निर्माताका फिल्मलाई दर्शकले बेवास्ता गरिरहने गर्छन् । उनी दोह्रोर्‍याउँछन्, ‘अब ब्यानर र ब्रान्ड हेरेरै दर्शक हलमा पुग्छन् ।’
गिरीको भन्दा ठ्याक्कै विपरीत विश्लेषण छन्, नेपाली फिल्मको बजारका बारेमा जानकार मानिएका निर्देशक/वितरक प्रचण्डमान श्रेष्ठको । ‘यो वर्ष जति पनि फिल्म चले, ती फिल्म हेर्नेमध्ये ६०–७० प्रतिशत दर्शकमा नकारात्मक छाप पर्‍यो,’ वितरण कम्पनी स्टेसन फाइभका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ भन्छन्, ‘वर्षको हिट फिल्म भनेर हल्ला गरियो तर ती फिल्मले कतिलाई निराश बनायो, लेखाजोखा छैन । अहिले त्यही निराशाको परिणाम देखापर्दै छ ।’ नाम नलिए पनि उनले संकेत गरेका फिल्महरू ‘जात्रै–जात्रा’, ‘कबड्डी ३’ र ‘छ माया छपक्कै’ हो भनेर बुझ्न
गाह्रो छैन ।
पाँच–सात जना कलाकार, उस्तै कमेडी र संवादले नेपाली फिल्मप्रति वितृष्णा जागेको छ । ‘त्यसो नहुँदो हो त किन नेपालभर तीन–चार लाख ग्रस हुँदैन ? केडीएम चार्ज र हल सञ्चालन खर्चै उठ्दैन,’ श्रेष्ठ भन्छन्, ‘यसलाई चिर्न ‘लुट’ जस्तै चेन्जमेकर फिल्म आउनैपर्छ । छलाङ चाहिएको छ । त्यस्तो फिल्म नआइन्जेल व्यापार अझ डामाडोल हुन्छ ।’
तर दुःखको कुराचाहिं, उनले भनेजस्तो ‘पाराडाइम सिफ्ट’ गर्ने सिनेमा बन्ने सम्भावना तत्काल देखिएको छैन ।

कोसेली

के हो यस्तो ?

फोकस आउट
- दीपक केसी

स्वयम्भूका बाँदर ! काठमाडौंवासीका लागि यो भनाइको अर्थ चकचक र अनेक हर्कत गर्ने भन्ने लाग्छ । समाजमा यस्ता विम्ब र वाक्यहरु लामो समयको अभ्यास र मूल्यांकनबाट बन्ने गर्छन् । तैपनि, यी
सबैले सधैं उस्तै अर्थ बोक्दैनन् । यही फोटोलाई हेर्नुस् ! दुई सातापहिले स्वयम्भूमा खिचिएको यो फोटोमा बाँदरले मानिसको हरकतलाई ध्यान दिएर हेरिरहेको छ । मानिसलाई बरू बाँदरको
नजरबारे थाहा भएजस्तो लाग्दैन !