You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
Page 3
मुख्य पृष्ठ

व्यक्तिका आर्थिक विवरण बटुल्दै गुप्तचर विभाग

- मातृका दाहाल

(काठमाडौं) - राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले सार्वजनिक पदधारण गरेका र विभिन्न पेसा/व्यवसायमा संलग्न रहेका व्यक्तिहरूको तीनपुस्ते सम्पत्ति विवरण संकलन गर्न थालेको छ । राष्ट्रिय सुरक्षासम्बन्धी सूचना संकलन गर्दै आएको गुप्तचर विभागलाई सरकारले आर्थिक क्षेत्रको सूचना बटुल्नसमेत क्रियाशील बनाएको हो ।
प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतका अनुसार राअविले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा ‘शंकास्पद’ व्यक्ति तथा तिनका परिवारको आर्थिक स्थितिको अभिलेख राख्न थालेको छ । नागरिक तहको सम्पत्ति विवरण संकलन थाल्नुअघि राअविका मुख्य अनुसन्धान निर्देशक (प्रमुख) गणेश अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आन्तरिक सुरक्षा र सुशासन विषय समेटिएको ‘विशेष कार्ययोजना’ प्रस्तुत गरेका थिए ।
२०७५ पुस २३ गते राअवि प्रमुखमा नियुक्त अधिकारीले प्रधानमन्त्री कार्यालयकै स्वीकृतिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा आफ्नो संयन्त्र तैनाथ गराएका थिए । त्यसपछि विशेष कार्ययोजनालाई तत्काल कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीले निर्देशन दिएको
स्रोतले जनाएको छ ।
राअविका पूर्वप्रमुख देवीराम शर्माका अनुसार २०३२ सालमा विभागभित्रै ‘राजस्व महाशाखा’ गठन गरेर भ्रष्टाचार, सीमा तस्करी, राजस्व चुहावट, बैंकिङ घोटालालगायत वित्तीय अपराध र अकुत सम्पत्ति आर्जनविरुद्ध सूचना संकलनको जिम्मा दिइएको थियो । पछि वित्तीय अपराधमा संलग्न गिरोह र राजनीतिक दलका कतिपय नेताले महाशाखालाई काम नथाल्दै निष्क्रिय बनाएको शर्माले उल्लेख गरे । २०४७ को अन्तरिम सरकारले राअविलाई नागरिकको आर्थिक विवरण संकलनमा रोक लगाएको थियो । अहिले राष्ट्रिय सुरक्षा र राष्ट्रिय चासोका विषयमा राअविले छुट्टाछुट्टै रणनीति बनाएर काम गरिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । ‘सार्वजनिक पदधारण गरेका बहालवाला तथा अवकाशप्राप्त सबै निकायका कर्मचारी/पदाधिकारीदेखि विभिन्न पेसा/व्यवसायमा आबद्ध र आवश्यकताअनुसार सर्वसाधारणको आर्थिक हैसियत के छ भनेर
विवरण संकलन गर्ने काम जारी छ,’ सम्बद्ध अधिकारीले कान्तिपुरसँग भने ।
पहिलो चरणमा ‘परीक्षण संकलन’ अन्तर्गत केही व्यक्तिको विवरण संकलन भइसकेको छ । व्यक्तिको आर्थिक विवरण खोज्न राअवि प्रमुखको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रहने गरी एक छुट्टै एकाइ खडा गरिएको छ । गत साउनबाट विभिन्न राजनीतिक दलका नेता/कार्यकर्ता, बहालवाला तथा अवकाशप्राप्त सरकारी पदाधिकारी तथा कर्मचारी, उद्योगी/व्यापारी, बैंक/वित्तीय संस्था एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (गैसस) का सञ्चालक एवं तिनका परिवारका नाममा रहेको चल/अचल सम्पत्तिको विवरण संकलन भइरहेको छ । विवरण संकलनका लागि अख्तियार, सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग र आवश्यकताअनुसार अन्य सरकारी कार्यालयसँग समन्वय र सहकार्य भइरहेको स्रोतले जनाएको छ ।

सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाल विशेष सेवा ऐन–२०७६’ सम्बन्धी विधेयकमा पनि विभिन्न संघसंस्था, समूह वा व्यक्तिका गतिविधिमाथि सूचना संकलन गर्न राअविमै ‘विशिष्टीकृत कार्यालय’ स्थापना गरिने उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुसालले व्यक्तिगत आर्थिक विवरण संकलनका विषयमा प्रतिक्रिया दिन मानेनन् । प्रधानमन्त्री कार्यालयको राष्ट्रिय सुरक्षा तथा कूटनीतिक समन्वय र शासकीय सुधार महाशाखा प्रमुखसमेत रहेका भुसालले भने, ‘यो विषय मेरो लेबलभन्दा माथिको हो, माथि नै बुझ्नुहोला ।’
पूर्वगृहसचिव गोविन्द कुसुमले नागरिकको आर्थिक विवरण संकलनमा गुप्तचर विभागलाई खटाइनु अनुचित रहेको टिप्पणी गरे । विभागलाई उक्त जिम्मेवारीमा सक्रिय बनाइँदा मुलुकमा त्रास र आतंक सिर्जना हुने उनले बताए । ‘भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, राजस्व छलीजस्ता आर्थिक र संगठित अपराध नियन्त्रण गर्ने सरकारी निकायहरू हुँदाहुँदै राष्ट्रिय अनुसन्धान विभागलाई व्यक्तिको आर्थिक विवरण संकलनमा सक्रिय पार्नु कुनै पनि हिसाबले उपयुक्त मान्न सकिँदैन,’ उनले कान्तिपुरसँग भने, ‘प्रजातान्त्रिक मुलुकमा त्रास र आतंक फैलाएर सुशासनको वातावरण बन्दैन ।’
राज्यविरुद्धका गतिविधि नियन्त्रणमा प्रतिजासुसी भूमिकालाई चुस्त र प्रभावकारी बनाउन छाडेर आर्थिक विवरण संकलनमा विभागलाई खटाउँदा सरकार निरंकुश बन्ने खतरा रहेको उनले टिप्पणी गरे ।
राअविका पूर्वप्रमुख शर्माले भने आर्थिक अनुशासन, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न गुप्तचर विभागलाई व्यक्तिको आर्थिक हैसियतसम्बन्धी विवरण संकलनमा सक्रिय बनाउनु उपयुक्त भएको तर्क गरे । ‘देशका लागि भ्रष्टाचार र अनियमितता आतंकवाद जत्तिकै प्रमुख समस्या हो । यसलाई समयमै नियन्त्रणमा लिन सकिएन भने माफिया र तस्करले घोषित रूपमै सत्ता चलाउँछन्,’ शर्माले कान्तिपुरसँग भने, ‘विभागलाई अकुत धन आर्जन र सम्पत्ति शुद्धीकरणविरुद्धका सूचनामा पहँॅच स्थापित गराउन सरकारले लिएको निर्णय सही छ । सुशासन र अपराध नियन्त्रणमा यो निकै महत्त्वपूर्ण कदम हो ।’
२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीले आठ दिनपछिको मन्त्रिपरिषद् बैठकबाट गृह मन्त्रालयमातहत रहेको राअवि र अर्थ मन्त्रालयअन्तर्गतका सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याएका थिए । उक्त बैठकले एनजीओ, आईएनजीओको मापदण्ड तोक्ने अधिकार पनि प्रधानमन्त्री कार्यालयलाई नै दिएको थियो ।

मुख्य पृष्ठ

रोकिइनन् गौरिका

पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्ण
- राजु घिसिङ
२ सय मिटर ब्रेस्टस्ट्रोकमा रजत जितेकी डुआना लामा ।

(काठमाडौं) - दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमै पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएपछि गौरिका सिंहले भनिन्, ‘धेरै मान्छेले मलाई तिमी बाहिर बस्ने हो, नेपाली होइन भन्छन् । म त नेपाली हुँ । यो मेडल नेपाललाई नै हो ।’
सातदोबाटोमा अन्तिम समयमा तयार पारिएको हिटिङ सिस्टमको नयाँ स्विमिङ पुलमा स्वर्ण जितेपछि गौरिकाले दिएको प्रतिक्रिया धेरैका लागि सांकेतिक जवाफ थियो । उनकै उत्कृष्ट प्रदर्शनमा नेपाली टिमले रिलेमा कांस्य पनि हात पार्‍यो ।
नेपाली पौडी क्षेत्रकै धेरैले उनलाई प्रतिस्पर्धाको अवसरबाट रोक्ने प्रयास गरेका थिए । सानोमै बाआमासँग लन्डन पुगेकी उनी उतै बस्छिन् । पढ्छिन् । स्विमिङ ट्रेनिङ गर्छिन् । स्कुल, कलेज बिदा हुँदा र पौडी प्रतियोगिताका बेला स्वदेश आउँछिन् ।
११ वर्षको छँदै सनसनीपूर्ण प्रदर्शन गर्दै गौरिकाले आठ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । २०७१ साउनको त्यो राष्ट्रिय खुला पौडीले ठूलै हलचल ल्यायो । उनी नियमित रूपमा प्रतियोगिता खेल्न आइन् । १२ औं सागमा तीन वर्षअघि १ रजत र ३ कांस्य जित्दै व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो नेपाली स्विमर भइन् । एकपछि अर्को कीर्तिमान बनाइरहिन् । सफलताले कथा बुनिरहेकै बेला उनीविरुद्ध पौडी जगत्मा भने ठूलै चलखेल भयो ।
उनलाई प्रतिस्पर्धा गर्न नदिन अरू खेलाडीका अभिभावकले हस्ताक्षर अभियान नै चलाए । पौडी संघले सीमित स्पर्धामात्रै खेल्न पाउने नियम ल्यायो । तर, गौरिका रोकिइनन् । उनले २ मिनेट ५.०६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाउँदै बिहीबार २ सय मिटर फ्रिस्टाइलमा स्वर्णपदक जितेकी हुन् । त्यसक्रममा उनले भारतकी सिवांगी शर्मालाई २.१३ सेकेन्डले पछाडि पारिन् । पाँच देशका आठ खेलाडी सहभागी स्पर्धामा जनुयना अहमद (२ः१२.८३) ले कांस्यपदक हात पारिन् । गौरिकाले हिटमा बनाएको २ मिनेट ९.१९ सेकेन्ड पनि गत वर्ष आफैंले बनाएको राष्ट्रिय कीर्तिमानको बराबरी हो । ‘दर्शकको सपोर्ट एकदमै राम्रो भयो । समय पनि सोचेभन्दा राम्रो आयो,’ १७ वर्षीया उनले भनिन् ।
रियो ओलम्पिक २०१६ मा दस हजारभन्दा बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी खेलाडीका रूपमा चर्चित गौरिकाले १३ औं सागको स्वर्णबारे भनिन्, ‘मेरो त सातो उड्यो । सबैले खुसियाली मनाए, जसलाई म वर्णन नै गर्न सक्दिनँ । जस्तो ओलम्पिक, त्यस्तै महसुस भयो ।’ उनले १२ औं सागमा २ सय मिटर इन्डिभिज्युअल मिड्ले रजत, १ सय र २ सय मिटर ब्याकस्ट्रोक तथा ४ सय मिटर फ्रिस्टाइलमा कांस्य हात पारेकी थिइन् ।
‘जहिले पनि हार हुन सक्छ,’ प्रतिस्पर्धाबारे उनले भनिन्, ‘आफ्नो उत्कृष्ट दिने प्रयास मात्रै गर्न मिल्छ । आज मैले त्यो गरेँ । जित्नका लागि मेरो उत्कृष्ट प्रयास पर्याप्त भयो । खुसी छु ।’ बुबाआमासँगै लन्डनबाट सोमबार काठमाडौं आइपुगेकी उनले थपिन्, ‘मैले जितेको पदक नेपाल र मेरा अभिभावकलाई समर्पित गर्छु ।’ उनले चार गुणा ४ सय मिटर फ्रिस्टाइल रिलेमा डुआना लामा, टिसा शाक्य र अनुसिया तन्डुकारसँगै ४ मिनेट १२.१७ सेकेन्डका साथ कांस्य हात पारिन् ।

घरेलु टिमले राष्ट्रिय कीर्तिमान बनाएको यो स्पर्धामा भारतले स्वर्ण र श्रीलंकाले रजत जिते । १३ वर्षीया डुआनाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा २ मिनेट
४४.६८ सेकेन्डको राष्ट्रिय कीर्तिमानसहित रजतपदक हात पारिन् ।
गौरिकाले सागमा केन्द्रित भएर लन्डनस्थित क्याम्देन स्विस कटेज स्विमिङ क्लबमा प्रशिक्षक एडम टेयलरसँग तयारी गरेकी थिइन् । उनले सातामा १८ घण्टासम्म (नौ सेसन) अभ्यास गरिन् । उनी विशेषगरी ब्याकस्ट्रोक र फ्रिस्टाइलमा राम्रो मानिन्छिन् । उनको रोजाइ मध्यम दूरीका स्पर्धाहरू हुन् । यो सागमा उनको नाम नौ व्यक्तिगत र ३ टिम स्पर्धामा दर्ता गरिएको छ । शुक्रबार २ सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् । दुई स्पर्धा सँगसँगै परेकाले उनले ४ सय मिटर इन्डिभिज्युअल मिड्ले भने छाड्ने बताइएको छ ।
अरू स्पर्धाबारे उनले भनिन्, ‘भोलि राम्रो हुन्छ कि हुँदैन, थाहा हुँदैन । म राम्रो गर्ने प्रयास गर्नेछु ।’ ‘सर्ट कोर्स’ को नयाँ पुलबारे उनले भनिन्, ‘पुल एकदम राम्रो छ । बेलायतको जस्तै । चिसोमात्रै बढी हो । अरू सबै ठीक छ । राम्रो छ ।’ आफ्ना समर्थकबारे बोलिन्, ‘अनौठो लाग्छ, मेरा फ्यान पनि छन् । म अरू मान्छेको फ्यान हो, मेरा फ्यान पनि छन् र ? जस्तो लाग्छ ।’

 

मुख्य पृष्ठ

धरहराका इँटा होटल र रेस्टुरेन्टमा

इचिबान रेस्टुरेन्टमा ॅश्री ३ चन्द्र’ लेखिएका इँटा ।
- कान्तिपुर संवाददाता

(काठमाडौं) - चारखाल मालपोत कार्यालयछेउ इचिबान नामको रेस्टुरेन्ट छ । यसलाई नेपाली वास्तुकला झल्कने मयूर झ्याल, आँखी झ्याल आदिले सजाइएको छ । भित्र पस्दा रिसेप्सनको ठीक पछाडि भित्तामा नौवटा हार लगाएर इँटा टाँसिएका छन् । टाँसिएका इँटाको छेउछेउमा फ्रेम हालेर आकर्षक देखाइएको छ । प्रत्येक इँटामा ‘श्री ३ चन्द्र’ लेखिएको छ । हलको बीचतिर पनि यस्तै इँटाले सजाइएको छ । प्राचीन स्मारक संरक्षण ऐन–२०१३ का अनुसार पुरातात्त्विक सम्पदामा प्रयोग गरिएका कुनै पनि वस्तु व्यक्तिका घरमा राख्नु वा व्यावसायिक प्रयोजनमा लगाउनु गैरकानुनी हो । ‘पुरातात्त्विक महत्त्वका सामान व्यक्तिको घरमा राख्न पाइँदैन,’ पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने ।
पुरातात्त्विक महत्त्वका यस्तै इँटा बबरमहलको बसेरा बुटिक होटलमा पनि राखिएको तस्बिर पत्रकार कसिसदास श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । श्रेष्ठले श्री ३ चन्द्र लेखेको धरहराको इँटा निजी होटलमा प्रयोग भएको फोटो ट्वीटरमा पोस्ट गरेका थिए । ‘मैले धरहराको इँटा भेटें,’ श्रेष्ठले भने, ‘होटलमा सोधपुछ गरेर कन्फर्म भएपछि सार्वजनिक गरेको हुँ ।’ उक्त होटलमा ६० वटा कोठा छन् । प्रत्येक कोठामा यस्ता एक–एकवटा इँटा फ्रेमभित्र राखिएको श्रेष्ठले बताए ।
केही महिनाअघि मात्र सञ्चालनमा आएको यो होटल नेपाली वास्तुकला झल्कने गरी बनाइएको छ । बसेरा होटलकी व्यापार संयोजक हेलेन घिमिरेले भने धरहराको इँटा प्रयोग नगरेको दाबी गरिन्, तर ती पुरातात्त्विक महत्त्वका इँटा कहाँबाट आए भन्ने प्रश्नको स्पष्ट जवाफ उनले दिन सकिनन् या चाहिनन् । इचुबानका सञ्चालकले पनि यस्तै जवाफ दिए ।

‘हामीले किन्दा यहाँ यसैगरी इँटा सजाइएको थियो,’ इचुबानका सञ्चालक कुमार कट्टेलले भने, ‘हामीले सञ्चालन गरेको एक वर्षमात्रै भयो ।’ पुरातात्त्विक महत्त्वका सामग्रीको कसरी दुरुपयोग भइरहेको छ भन्ने उदाहरण हुन् यी दुई ठाउँमा प्रयोग भएका इँटा । संरक्षणविद् रवीन्द्र पुरीका भनाइमा कतै बुझेर र कतै नबुझेर पुरातात्त्विक महत्त्वका वस्तुहरूको दुरुपयोग भइरहेको छ ।
प्राचीन स्मारक संरक्षण ऐनले पुरातात्त्विक महत्त्वका वस्तुको स्थानान्तरणमा पनि बन्देज लगाएको छ । ‘स्थानान्तरण गर्न पाइँदैन भनेर ऐनले किटान गरेको छ,’ संरक्षणविद् पुरीले भने, ‘यस्ता सामान ओसारपसारसमेत गर्न पाइँदैन । किनबेचको त कुरै छाडौं ।’ २०७२ सालको भुइँचालो जानासाथ धरहराका इँटा भन्दै टिपेर लैजाने होडबाजी नै चलेको उनले बताए । पुरीलगायत संरक्षणविद्हरूले आवाज उठाएपछि सुन्धाराबाट उठाएर धरहराका इँटा टँॅडिखेलमा राखिएको थियो । ‘हामीले सुरुमै सचेत गराएका थियौं,’ पुरीले भने, ‘हामी कराएपछि टुँडिखेलमा लगेर राखियो, तर त्यहाँ पनि सुरक्षित भएजस्तो लागेन ।’
धरहरालगायत भूकम्पका बखत भत्केका अन्य सम्पदाका इँटालगायत वस्तुहरूको संरक्षण गर्न नसकिएको पुरातत्त्व विभागले पनि स्विकारेको छ । ‘संग्रहालयमा सबै राख्ने कुरा भएन, नमुना राख्ने हो,’ कुँवरले भने, ‘धरहराको पनि नमुना इँटा संग्रहालयमा राखेका छौं ।’ सम्पदामा प्रयोग भएका सामान नमुनाका रूपमा संग्रहालयमा राखेपछि अरू त्यहीं कतै गाडिदिने गरिएको कुँवरले बताए । ‘उत्खनन गर्दा पनि केही नमुना राखिन्छ, अरू गाडिन्छ,’ कुँवरले भने, ‘बढी भएको त्यतै डम्प गरिन्छ ।’ सम्पदाका प्रत्येक टुक्रासमेत बहुमूल्य मानिन्छ । ऐतिहासिक, दुर्लभ, कलात्मक पाटो हेरेर यसको महत्त्व निर्धारण गरिने कुँवरले उल्लेख गरे । अभिलेखसहितको इँटाले कुनै कालखण्डको इतिहाससमेत जनाउने भएकाले त्यसलाई ऐतिहासिक मूल्य भएको वस्तुको सूचीमा राखिन्छ । कुँवरका अनुसार धरहरामा श्री ३ जुद्ध र श्री ३ चन्द्र लेखिएका इँटा प्रयोग भएका छन् । अभिलेखसहितको इँटा बनाउने प्रचलन लिच्छविकालदेखि नै चलेको मानिन्छ । लिच्छवि राजाहरू मानदेव र अंशुबर्माको नाम अंकित इँटाहरूसमेत भेटिएका छन् ।
संरक्षणको सिद्धान्तअनुसार सम्पदा पुनर्निर्माण गर्दा पहिला प्रयोग भएका काम लाग्ने सामग्री प्रयोग गर्नुपर्छ । धरहरा संरक्षणको सिद्धान्तअनुसार पुनर्निर्माण भइरहेको छैन । अहिले बनाइँदै गरेको धरहरामा लिफ्टसहित आधुनिक सुविधा प्रयोग गरिनेछ । संरक्षणविद्ले यसलाई नक्कली धरहरा भन्दै आएका छन् । ‘यो नक्कली धरहरा हो,’ वास्तुकलाविद् सुदर्शनराज तिवारीले टिप्पणी गरे, ‘यहाँ हाम्रा प्राचीन सीप, सामग्री, प्रविधि सबै नष्ट हुँदै छ ।’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरामा पुराना इँटा प्रयोग नगर्ने गरी लागत स्टिमेट तयार पारेको छ । भीमसेन थापाले बनाएको धरहराको ठुटोलाई सिसाको फ्रेम लगाएर जोगाउने प्राधिकरणको योजना छ । प्राधिकरणबाट धरहरा हेर्ने जिम्मेवारी पाएका विज्ञ राजु मानन्धरका अनुसार अहिले धरहराको काम लाग्ने इँटा एउटै छैनन् । ‘हामीले भुइँचालो गएको तीन वर्षपछि धरहराको जिम्मा लिएका हौं,’ मानन्धरले भने, ‘हामीले जिम्मा लिँदा सग्लो इँटा एउटै थिएनन् । टुटेफुटेका मात्रै बाँकी थिए । त्यसलाई तारबार लगाएर सुरक्षित राखेका छौं ।’ राष्ट्रिय विभूति भीमसेन थापाले धरहरा बनाएर मुलुकमा मुगल शैलीको संरचना भित्र्याएका थिए । उनले आफ्नो निवास बागदरबार छेउमै वि.सं. १८८१ सालमा धरहरा बनाएका थिए । थापाले यो धरहरा बनाएको अर्को वर्ष रानी त्रिपुरासुन्दरीले अर्को धरहरा बनाउन लगाइन् । यी दुवै धरहरा बनाउँदा थापा प्रधानमन्त्री थिए । १९९० सालको भुइँचालोले यी दुईमध्ये थापाले आफ्नो निवासछेउ बनाएको धरहरा ढल्यो । हालको धरहरामा चाहिँ आंशिक क्षतिमात्रै पुगेको थियो । ९० सालमा भुइँचालो आउनु पहिला नै चट्याङ परेर धरहरामा क्षति पुगिसकेको थियो । ११ तले धरहरालाई ९० सालको भुइँचालोपछि १९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ९ तलामा झारेर पुनर्निर्माण गराएका थिए । त्यसबेला त्यसमा पुरानै इँटा प्रयोग गरिएको पुरीले बताए । ‘जीर्णोद्धार गर्दा पुराना सामान बढीभन्दा बढी प्रयोग गर्नुपर्छ,’ पुरीले भने, ‘जति पुराना सामान प्रयोग गर्‍यो, उति नै यसको प्राचीनता कायम रहन्छ ।’
साधारणतया छेउ चोइटिएको, बीचमा चर्किएको तर पूर्णतया भारवहन गर्न सक्ने इँटा मौलिक रंग केही फुस्रिएको भए पनि प्रयोग गर्नु उपयुक्त हुने पुरातत्त्वविद् बताउँछन् । पुरातत्त्वविद् विष्णुराज कार्कीले भने, ‘प्रयोग भएका इँटा प्रयोगमा नआई टुटुफुट भएमा, कलात्मक इँटामा रहेको कलापक्ष पूर्णतया नष्ट भएमा तिनकै नाम, आकार, कलाकृति र गुणस्तर भएका नयाँ इँटा प्रयोग गर्नुपर्छ ।’ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा यस्तो इँटा परीक्षण गर्ने ल्याब पनि छ । कार्कीका अनुसार पुराना इँटाको भारवहन क्षमता कमजोर हुनसक्छ । नुनिलो पदार्थ उत्पन्न भयो भने भारवहन क्षमता कमजोर हुन्छ । यस्तो अवस्था आएमात्रै नयाँ इँटा प्रयोग गर्नुपर्छ । नयाँ इँटा प्रयोग गर्दा पनि गुणस्तर भने कायम गरेको हुनुपर्छ । पूर्ण रूपमा पोलिएको, फोका नउठेको, नडढेको र सतह मिलेको इँटालाई गुणस्तरीय मानिन्छ ।
धरहराको निर्माणमा चुनासुर्कीको जोडाइ र इँटाको गाह्रो थियो । यसको डिजाइन मुगल कालीगढले गरेका थिए । सबभन्दा माथिल्लो भागमा गुम्बज बनाई सुनको जलप लगाइएको धातुको गजुर थियो । धातुको गजुर राष्ट्रिय संग्रहालय, छाउनीमा लगेर राखिएको कुँवरले बताए । अन्य पुराना सामान प्रयोग नभए पनि आधुनिक धरहरामा गजुरचाहिँ राखिने मानन्धरले जानकारी दिए । ‘प्राधिकरणले मागेका बेलामा गजुर दिन्छौं,’ कँॅवरले भने । पुरातात्त्विक महत्त्वका इँटाहरू भने फर्काउन सजिलो छैन । काठमाडौं उपत्यका र यसका आसपास प्रयोग गरिने चिल्लो र सादा इँटालाई नेवारी भाषामा दाची अपा भनिन्छ । दाची अपालाई सम्पदा कलात्मक बनाउन प्रयोग गरिन्छ । ‘सम्पदा पुनर्निर्माणमा यसको भूमिका महत्त्वपूर्ण छ,’ सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले भने, ‘यति महत्त्व भएको इँटा व्यक्तिको घरघरमा पुग्नु दुःखद कुरा हो । हराएका यस्ता पुरातात्त्विक वस्तुको चर्चा नै हुने गरेको छैन । यसमा अब बहस हुनुपर्छ ।’

Page 4
समाचार

जसले आफैंलाई मत दिएनन्

- राजेश मिश्र

(काठमाडौं) - निर्वाचनमा उम्मेदवार हुन एक जना प्रस्तावक र एक जना समर्थक हुनुपर्छ । यसले घरपरिवारबाहेक आफूसमेत उम्मेदवारलाई कम्तीमा तीन जनाको साथ छ भन्ने बुझिन्छ तर उपनिर्वाचनमा २५ जना यस्ता उम्मेदवार भेटिए, जसले आफैंलाई मत दिएनन् । उनीहरूले शून्य मत ल्याए ।
शून्य मत ल्याउनेमध्ये २४ जना स्वतन्त्र र एक जना दलका उम्मेदवार छन् । ११ जनाले एक मत मात्रै ल्याएका छन् । ९ जनाले २ र त्यति नै संख्याले ३ मत पाए ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि मंसिर १४ मा भएको उपनिर्वाचनमा ३ सय ३७ उम्मेदवार थिए । त्यसको एक तिहाइ हिस्सा अर्थात् १ सय १२ जना उम्मेदवारले १० मत कटाउन सकेका छैनन् । त्यसमध्ये अधिकांश स्वतन्त्र उम्मेदवार छन् ।
प्रतिनिधिसभाको कास्की–२ निर्वाचन क्षेत्रका २१ उम्मेदवारमा ६ जनाले १० मत कटाउन सकेका छैनन् । ती सबै स्वतन्त्र उम्मेदवार हुन् । प्रदेशसभाको भक्तपुर १ (१) का १९ उम्मेदवारमध्ये ११ जनाले पाएको मत १० भित्र छ । ती ८ स्वतन्त्र र २ जना दलका उम्मेदवार छन् । यहाँ नेपाली कांग्रेस (बीपी) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवारले क्रमशः २ र ५ मत ल्याएका छन् ।
प्रदेशसभाको बाग्लुङ २ (२) का १० उम्मेदवारमध्ये एक जनाले १० मत कटाउन सकेका छैनन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवारले ८ मत ल्याएका छन् । दाङ ३ (२) का १४ उम्मेदवारमध्ये तीन जना १० मत नकटाउने छन् । त्यसमा २ स्वतन्त्र र एक नेपाली कांग्रेस (बीपी) का उम्मेदवार छन् ।
सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि भएको चुनावमा २३ उम्मेदवार थिए । तीमध्ये ८ जनाको मत १० मुनि छ । ती सबै स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरू हुन् । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लाग प्रतिस्पर्धी २० जनामध्ये ९ जनाले १० मत कटाउन सकेनन् । संखुवासभाको मकालु र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदको प्रतिस्पर्धामा सहभागी सबै उम्मेदवारले १० मत कटाएका छन् । मकालुमा ७ जना प्रतिस्पर्धी सबै दलबाटै थिए । फाल्गुनानन्दमा पनि स्वतन्त्र उम्मेदवारी परेको थिएन । ८ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा थिए ।
सबैभन्दा रोचक महोत्तरीको बलवा नगरपालिका–८ को वडाध्यक्ष पदका लागि भएको चुनावमा देखिएको छ । त्यहाँ १२ जना उम्मेदवार थिए । त्यसमध्ये निर्वाचितसहित तीन जना उम्मेदवारले मात्रै १० मत कटाएका छन् । ५ जनाले शून्य मत ल्याएका छन् । शून्य मत ल्याउने सबै स्वतन्त्र उम्मेदवार हुन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–१० मा वडाध्यक्ष लागि भएको चुनावी प्रतिस्पर्धामा सहभागी १२ जनामध्ये ५ जनाले शून्य मत ल्याएका छन् । शून्य मत ल्याउनेमा राप्रपा (संयुक्त) का उम्मेदवार नूर मोहम्मद मनिहार पनि छन् । शून्य मत ल्याएका स्वतन्त्र उम्मेदवार मोहम्मद रफिक मनिहारले नेकपाका उम्मेदवार अदालत मनिहारलाई सहयोग पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको बताए । ‘पार्टीका उम्मेदवारलाई निर्वाचनमा पाउने गाडी, एजेन्टलगायत सुविधामा सहयोग पुगोस् भनेर मात्रै उम्मेदवारी दिएको हुँ,’ कान्तिपुरसँगको फोन सम्पर्कमा उनले भने, ‘मलाई उम्मेदवार बन्नु थिएन । पार्टीले भनेपछि बनें, त्यहीअनुसार पार्टीको उम्मेदवारलाई सहयोग गरें ।’
उनी मात्रै होइन, त्यहाँ प्रमुख दलका उम्मेदवार सबैले आफ्ना सहयोगी उम्मेदवारलाई चुनावमा उतारेका थिए । कारण थियो– प्रचारप्रसारका लागि सवारीसाधन, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि र गणना प्रतिनिधि थपिनु । शून्य मत ल्याएका शिवलाल यादवले कांग्रेसका उम्मेदवारलाई समर्थन जनाएको बताए । अर्का शून्य मत ल्याउने उम्मेदवार शिवभक्त ठाकुर (नाउ) ले राजपाका उम्मेदवारलाई सघाएको कान्तिपुरलाई बताए । त्यहाँ राजपाका उम्मेदवार विजयी भए । ‘राजपालाई समर्थन जनाउँछु भनिसकेपछि घात त गर्न भएन,’ उनले भने, ‘त्यही भएर आफ्नो भोट पनि आफूलाई नदिएको हुँ ।’
उपनिर्वाचनमा खटिएका एक जना अधिकृतले उम्मेदवारी दिँदाकै बेला कतिपय स्वतन्त्र उम्मेदवार बलियो मानिएका उम्मेदवारको साथमै आएर उम्मेदवारी दिएको बताए । ‘उसको काम भनेकै जसको सहयोगमा उम्मेदवारी दिएको हो, उसका लागि खटिनु,’ उनले भने, ‘उनीहरू आफूले पाएको चिह्नमा मत नपरोस् भनेर बढी सतर्क हुँदा रहेछन् ।’ उनका अनुसार अर्को थरी बार्गेनिङका लागि मात्रै उम्मेदवारी दिन्छन् । तिनले मुख्य प्रतिस्पर्धामा रहेका उम्मेदवारसँग आर्थिक लाभ लिएर सघाउने गर्छन् ।
उम्मेदवार भएपछि कानुनले दिएको सेवा–सुविधा र व्यवहार सबैलाई एक जस्तै गर्नुपर्ने बाध्यताले निर्वाचन व्यवस्थापनमा कतिपय चुनौती आउने गरेको उनले सुनाए । निर्वाचन आचारसंहिताविपरीतको सवारीसाधन र खर्च, मतदान केन्द्र र गणना स्थलमा प्रतिनिधिको भीड चाहेर पनि नियन्त्रण गर्न कठिनाइ हुने गरेको उनले बताए । अर्कातिर धेरै चिह्न छापिएर मतपत्र भद्दा हुनु, मतदाता झुक्किनु र बदर मत बढ्नु त्यसले पार्ने नकारात्मक प्रभाव हुन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बहुमतीय प्रणालीमा बढी फाइदा उठाउन दलका उम्मेदवारले ‘डमी’ उम्मेदवार उठाउने गरेको बताए । त्यस्ता उम्मेदवारले निर्वाचनको हरेक स्टेपलाई प्रभावित बनाउने गरेको उनको बुझाइ छ । मतदानपूर्व, मतदानका दिन र गणनाका बखतसम्म त्यस्ता डमी उम्मेदवारका कारण निर्वाचन कार्य प्रभावित हुन्छ । कानुनले दिएको अधिकारको उनीहरूबाट दुरुपयोग हुने गरेको छ,’ उनले भने, ‘यो कानुनको मौन उल्लंघन हो ।’

समाचार

छाउगोठमा मृत्युपछि जेठाजु पक्राउ

- मेनुका ढुंगाना

(अछाम) - साँफेबगर–३, सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको आइतबार छाउगोठमा मृत्यु भएको घटनामा प्रहरीले बिहीबार उनका जेठाजु छत्र रावतलाई पक्राउ गरेको छ । रावतलाई सोधपुछका लागि मंगलसेन बोलाएर प्रहरीले पक्राउ गरेको हो ।
श्रीमान् र सासू–ससुरा कामका लागि भारतमा भएकाले पार्वती जेठाजु–जेठानीसँग बस्दै आएकी थिइन् । छाउगोठमा बस्न बाध्य गराए/नगराएको बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यसअघि छाउगोठमा महिलाको मृत्यु भएका घटनामा प्रहरीले अनुसन्धान र कारबाही गर्दैनथ्यो । पछिल्लो कानुनले छाउगोठमा बस्न बाध्य पारेको अवस्थामा पनि दोषीलाई कारबाही हुने व्यवस्था गरेपछि प्रहरीले अनुसन्धान थालेको हो ।
यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई कानुनी रूपमै फौजदारी अपराध भनिएपछि प्रहरीले पहिलोपटक कानुनी प्रक्रिया सुरुवात गरेको जनाएको छ । ‘मृृतकका जेठाजुले छाउगोठमा बस्न बाध्य पारे/नपारेको विषयमा अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जनकबहादुर शाहीले भने, ‘पार्वतीलाई छाउगोठमा बस्न बाध्य पारेको भए कानुनबमोजिम कारबाही हुन्छ ।’
छाउपडी प्रथाका कारण अछाममा बर्सेनि महिला तथा किशोरीले अकालमा ज्यान गुमाउँदै आएका छन् । सोमबार ज्यान गुमाएकी पार्वतीसहित पछिल्लो १० वर्षमा छाउगोठमा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । छाउगोठमा निसासिएर, सर्पले टोकेर र आगोले पोलेर ज्यान गुमाउनेको संख्या बढी छ । यसअघि तुर्माखाद–४ की पार्वती बुढा, तुर्माखाद–३ की गौरी बुढा, गाज्राकी रोशनी तिरुवा, तिमिल्सैनकी डम्मरा उपाध्याय, रिडिकोटकी शर्मिला भूलको मृत्यु भएको थियो । यस्तै ढकारीकी लक्ष्मी बुढा, बारलाकी झुमादेवी शाही, वीरपथकी डिक्रादेवी ढकाल, पायलकी रतनदेवी विक, झुप्री ढोली, पायलकै पार्वती दमाई, नाडाकी हंशा जैशी र रानीवनकी हंशदेवी जोशीको छाउगोठमै मृत्यु भएको थियो ।
फौजदारी कानुनमा कसैले महिनावारी भएकै कारण छाउगोठ पठाए वा विभेद गरे ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

समाचार

'परिवारका सदस्यमाथि मुद्दा लाग्न सक्छ'

- कान्तिपुर संवाददाता

काठमाडौं– सुत्केरी वा महिनावारी भएका महिलालाई छुवाछूत गर्नेहरूलाई पक्राउ गरी मुद्दा अघि बढाउन महान्यायाधिवक्ता कार्यालयले प्रहरीलाई निर्देशन दिएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले बिहीबार प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई अपराध संहिताको प्रावधानअनुसार अघि बढ्न निर्देशन दिएलगत्तै अछाम, साँफेबगर–३ मा छाउगोठमै मृत भेटिएकी २१ वर्षीया पार्वती राउतका जेठाजु छत्र रावतलाई प्रहरीले पक्राउ गरेको छ ।
मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन’ भन्ने व्यवस्था छ । यो व्यवस्थाविपरीत कसुर गरे तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।
कानुनमा व्यवस्था हुँदाहुँदै पनि त्यसको कार्यान्वयन प्रभावकारी भइरहेको छैन । ‘कानुनको प्रावधान कार्यान्वयन नहुँदा यस्ता घटना भइरहेका छन्, त्यसैले यो प्रावधानमा टेकेर कारबाही अघि बढाउन मैले प्रहरीलाई भनेको हुँ,’ खरेलले भने । कानुनअनुसार कसैले पनि आफ्नो परिवारका सदस्यलाई त्यसरी व्यवहार गरे उनीहरू कारबाहीको भागीदार हुने उनले बताए । ‘जिल्ला सरकारी वकिल कार्यालयहरूलाई पनि मैले यस्ता मुद्दालाई प्राथमिकता दिएर अघि बढाउन भनेको छु,’ उनले भने ।

समाचार

बेपत्ता किशोरी दमौलीमा

- कान्तिपुर संवाददाता

लमजुङ (कास)– रजस्वलाका बेला छिमेकीको घर राखिएकी १३ वर्षीया सरिता परियार हराएको ५ दिनपछि तनहुँको दमौलीमा भेटिएकी छन् । उनलाई १९ वर्षीया आशिका परियारले लिई हिँडेकी थिइन् ।
सुन्दरबजार नगरपालिका–८ बलिथुमका उनीहरू दुवै मंसिर १३ देखि हराएका थिए । सरिता बलिथुमकै भारती सदन माविमा कक्षा ७ की छात्रा हुन् । दुवैलाई तनहुँ प्रहरीले बेलभञ्ज्याङको एक खाजा घरमा फेला पारेको थियो ।
कान्तिपुरमा मंगलबार ‘छाउ बसेकी किशोरी हराइन्’ शीर्षकको समाचार छापिएको थियो । परिवारले प्रहरीमा उजुरी दिएपछि खोजीमा जुटेको प्रहरीले बुधबार फेला पारेको जिल्ला प्रहरी कार्यालय लमजुङको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख असई नन्दकुमारी अधिकारीले बताइन् । प्रहरीसँग आशिकाले सरितालाई काठमाडौंमा काम लगाइदिन्छु भनेर लगेको बताएकी छन् । ‘काठमाडौं लान्छु भनेर दमौलीतिर गएछन् । आशिकाले आफू एक ठाउँमा बसेर सरितालाई अर्कै ठाउँ पठाएकी रहिछन्,’ अधिकारीले भनिन् ।
प्रहरीका अनुसार सरिता शारीरिक रूपमा अशक्त एवं ढिलो बोल्ने स्वभावकी छन् । आशिकासमेत ढिलो गरी बोल्ने र सुस्त स्वभावकी छन् । मुख लुकाउनुपर्ने, अरूसँग बोल्न, छोइन नहुने, आफ्नो घरधुरी अनि दाजुभाइ देख्न नहुने भन्दै रजस्वला हुँदा किशोरीलाई कोठाभित्र राख्ने चलनले यस्तो समस्या निम्त्याएको अधिकारीको भनाइ छ । छोरी पहिलोपटक रजस्वला भएपछि आमा शर्मिलाले पैदल १५ मिनेटमा पुगिने आशिकाको घर पुर्‍याएकी थिइन् ।

Page 5
समाचार

एमबीबीएसको प्रश्नपत्र 'आउट'

चार मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार
- कान्तिपुर संवाददाता

(काठमाडौं) - त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र परीक्षा सुरु भएको केहीबेरमै बाहिरिएको छ । गण्डकी मेडिकल कलेजमा बिहीबार परीक्षा सुरु भएको एक घण्टाभित्रै प्रश्नपत्र बाहिरिएको हो ।
परीक्षा सुरु भएको एक घण्टासम्म प्रश्नपत्र बाहिर लैजान पाइँदैन । गण्डकीमा विद्यार्थीले परीक्षा बहिष्कार गर्न खोज्दा प्रहरीसँग हुलदंगा भएको थियो । त्यहीबेला प्रश्नपत्र बाहिरिएको अनुमान गरिएको छ । बिहान १० बजेबाट परीक्षा थियो । ९५ विद्यार्थी रहेकोमा गण्डकी मेडिकल कलेजका प्रिन्सिपलका छोरा र सीईओकी छोरीलगायत केही विद्यार्थी मात्रै परीक्षा दिन हलमा प्रवेश गरेका थिए । त्यसपछि बहिष्कार गर्ने विद्यार्थी पनि हलभित्र पसेर प्र्रश्नपत्र लिएर बाहिरिएको एक विद्यार्थीले बताए ।
चिकित्सा शिक्षा संघर्ष समितिले भने कलेज प्रशासनले नै प्रश्नपत्र आउट गरेको दाबी गरेको छ । ‘आफ्ना छोराछोरीको मात्र परीक्षा लिने तयारी रहेछ,’ गण्डकी मेडिकल कलेजका छात्र अनित सिन्हाले भने, ‘परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र आउट गरेर हामीलाई दोष दिइएको छ ।’
कलेज प्रशासन र डिन कार्यालयले परीक्षा सुरु भएको एक घण्टापछि मात्र प्रश्न बाहिरिएको दाबी गरेका छन् । डिन कार्यालयको परीक्षा महाशाखाले प्रश्नपत्रका विषयमा विस्तृत बुझ्ने काम भइरहेको जनाएको छ ।
आन्दोलनरत विद्यार्थीले बुधबार बीडीएस र नर्सिङको परीक्षा बहिष्कार गरेका थिए । बिहीबार ४ मेडिकल कलेजका विद्यार्थीले एमबीबीएस प्रथम वर्षको परीक्षा बहिष्कार गरेका छन् । परीक्षा बहिष्कार गर्ने क्रममा कलेजमा तोडफोड गरेको आरोपमा कास्की प्रहरीले गण्डकी मेडिकल कलेजका ८ विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । ‘विद्यार्थी परीक्षा छाडेर बाहिर निस्किँदै थिए, प्रहरी आएर हस्तक्षेप गर्‍यो,’ समितिका प्रवक्तासमेत रहेका सिन्हाले भने, ‘प्रहरी र विद्यार्थीबीच धकेलाधकेल हुँदा केही सिसा फुटेपछि तोडफोड गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको छ ।’
पक्राउ परेका विद्यार्थीलाई छुटाउन जाँदा अन्य ५ जनालाई पनि नियन्त्रणमा लिइएको उनले जनाए । बढी शुल्क लिने कलेज सञ्चालकलाई कारबाही गर्न नसक्ने प्रहरी प्रशासनले उल्टै विद्यार्थीलाई पक्राउ गरेको विद्यार्थीले गुनासो गरेका छन् ।
गण्डकीका प्रिन्सिपल रविन्द्र श्रेष्ठले आफू कलेजमा नरहेको र बिहीबारको परीक्षामा १९ विद्यार्थी सहभागी रहेको बताए । परीक्षा बहिष्कारबारे आफूहरूलाई पूर्वजानकारी नरहेको उनको भनाइ छ । परीक्षा बहिष्कार गर्नेले झ्यालढोकाका सिसालगायत सामान तोडफोड गरेपछि सुरक्षाकर्मी बोलाइएको कलेज प्रशासनले
बताएको छ ।

समाचार

शुल्क छानबिन गर्न समिति

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरूले लिइरहेको बढी शुल्कबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरी शिक्षा मन्त्रालय र मेडिकल कलेजका सञ्चालकबीच भएको सहमतिअनुरूप समिति गठन गरिएको जनाएको छ ।
आयोगले मेडिकल कलेजहरूले शैक्षिक सत्र ०७२/७३ र ०७३/७४ मा लिएको शुल्कको विषयमा अध्ययन, छलफल र छानबिन गरी निर्णय लिन आयोगका योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा समिति गठन गरेको हो ।
गत मंसिर १० मा सरकार र मेडिकल कलेजका सञ्चालकबीचको बैठकमा ती दुई शैक्षिक सत्रको शुल्कको विषयमा अध्ययन गरी निर्णय लिन आयोगले कार्यदल गठन गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार कार्यदल गठन गरिएको आयोगका उपसचिव तुलसीप्रसाद आचार्यद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । कार्यदलमा को–को छन् भन्ने कुरा आयोगले विज्ञप्तिमा खुलाएको छैन । आयोगले तोकिएभन्दा बढी शुल्क नलिन कलेज सञ्चालकहरूलाई र नतिर्न अभिभावक/विद्यार्थीलाई आग्रह गरेको छ । आयोगले विज्ञप्तिमा मेडिकल कलेजको शिक्षण शुल्क भन्नाले भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम र परीक्षा शुल्कसमेत पर्ने जनाएको छ । कलेजहरूले भने शिक्षण शुल्कबाहेक भर्ना, ल्याब, पुस्तकालय, सामुदायिक तालिम र परीक्षालगायत शीर्षकमा समेत अतिरिक्त रकम उठाउँदै आएका छन् । सरकार र निजी मेडिकल कलेज सञ्चालकहरूको सहमतिपत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने उल्लेख छ ।

समाचार

प्रधानमन्त्री निवास फर्किए

- कान्तिपुर संवाददाता
अस्पतालबाट डिस्चार्ज भएपछि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर ः किरण पाण्डे/कान्तिपुर

(काठमाडौं) - प्रधानमन्त्री केपी शर्मा ओली दस दिनको अस्पताल बसाइपछि बिहीबार निवास फर्केका छन् । एपेन्डिसाइटिसको अपरेसनपछि मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रहेका ओलीको स्वास्थ्यमा सुधार आएसँगै उनी निवास फर्किएका हुन् ।
‘हाल स्वास्थ्यलाभ भएकाले केही दिन आराम गर्ने सुझावसहित प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको’ सेन्टरका कार्यकारी निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठले
बताए । अस्पताल स्रोतका अनुसार निवासमा फर्कनुअघि ओलीको बिहीबार पनि डायलसिस गरिएको थियो ।
प्रधानमन्त्री अब बसेर गफगाफ गर्न सक्ने अवस्थामा भए पनि उनलाई लामो समयसम्म बसिरहन वा शरीरलाई भार पर्ने काम गर्न नदिन चिकित्सकहरूले सुझाएका छन् । ‘प्रधानमन्त्रीलाई अझै आराम आवश्यक छ,’ एक चिकित्सकले भने, ‘खानपिनमा खासै समस्या छैन । सामान्य खाना खान सक्नुहुन्छ ।’
प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले पहिलेजस्तै फिट हुन प्रधानमन्त्रीलाई सात–दस दिन लाग्ने बताइन् । प्रधानमन्त्री ओलीलाई एक्कासि राति पेट दुखेपछि मंसिर १० गते बिहान ९ बजे मनमोहन सेन्टर पुर्‍याइएको थियो । परीक्षण गर्दा एपेन्डिसाइटिससहित पेरिटोनाइटिस (पेटको संक्रमण) देखिएको थियो । ‘यहाँ ल्याउँदा प्रधानमन्त्रीज्यूको स्वास्थ्यस्थिति जटिल थियो,’ कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘उहाँको स्वास्थ्यमा आश्चर्यजनक सुधार आएको हो ।’
शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल
तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा प्रधानमन्त्रीको पेट आकस्मिक रूपमा चिरेर संक्रमण हटाउनुका
साथै एपेन्डेक्टोमी (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया) गरिएको थियो । प्रधानमन्त्री ओली उपचारका लागि १० दिन रहँदा दुई लाख ५४ हजार ६ सय ८८ रुपैयाँ ४९ पैसा खर्च भएको अस्पतालले जानकारी दिएको छ ।
मिर्गौलाको समस्या रहेका प्रधानमन्त्रीलाई हालसम्म ९ पटक डायलसिस गरिएको छ । ६७ वर्षीय प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । अब उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारी गरिँदै छ ।

Page 6
वाग्मती प्रदेश

गैंडा मृत्युसम्बन्धी मुद्दामा अभियुक्तलाई सफाइ

- कान्तिपुर संवाददाता

चितवन (कास)– गैंडाको मृत्यु घटनासम्बन्धी मुद्दामा अदालतले अभियुक्तविरुद्ध दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश विनोदकुमार गौतमले बुधबार सफाइको फैसला गरेका हुन् ।
पश्चिम चितवनको भरतपुर–२३ जगतपुरमा रहेको पर्यटकीय होटल टाइगर ल्यान्डको सेफ्टी ट्यांकीमा परेर गत चैत १० गते पोथी गैंडा मरेको थियो । घटनापछि चितवन निकुञ्जका रेञ्जर शान्तबहादुर मगरका तर्फबाट चैत २६ मा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । निकुञ्जले होटलका सम्बन्धित व्यक्ति अजित राणा भन्ने अजितविक्रम शाह, प्रद्युम्न घिमिरे, दीपक खनाल, कान्ति थापा, दिलबहादुर गुरुङ र भाष्कर भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो ।
चितवन जिल्ला अदालतले गत वर्षको मंसिर २६ मा भने गैंडा मृत्युसम्बन्धी मुद्दामा चारजनालाई दोषी ठहर गरेको थियो । होटल मेघौली सेराईमा करेन्ट लागेर ०७३ साउन २५ मा गैंडा मरेको घटनामा अदालतले होटलका चार कर्मचारीलाई ५० हजारदेखि एक लाख रुपैयाँ जरिवाना गरेको थियो ।
०७४ माघमा पनि सौराहास्थित एक होटलको सेफ्टी ट्यांकीमा गैंडा परेको थियो । तर, गैंडाको उद्धार गरिएको थियो । उक्त घटनापछि ०७४ माघ २६ मा चितवन निकुञ्जको सौराहामा रहेको पूर्वी सेक्टर कार्यालयले सूचना निकालेर सेफ्टी ट्यांकी वा गोबरग्यासको खाल्डो पुर्न वा सुरक्षित तरिकाले बनाउन आग्रह गरेको थियो ।

वाग्मती प्रदेश

धर्मले बचाउँछ भन्दै औषधि खाँदैनन् संक्रमित

- प्रमिता ढकाल

(भरतपुर) - एचआईभी एड्सको संक्रमण धार्मिक भक्तिबाट निर्मूल हुन्छ भन्दै संक्रमितले औषधि छोड्न थालेपछि जिल्लामा नयाँ चुनौती थपिएको छ । भरतपुर अस्पतालबाट नियमित एन्टिरेट्रो भाइरल थेरापी (एआरभी) रेजिमेन लिइरहेका संक्रमितहरूले औषधि छोड्न थालेपछि चुनौती बढेको हो ।
पछिल्लो तीन महिनामा नौ जनाले धर्मको आडमा औषधि छुटाएको भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसन (एएचएफ) चितवनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । ‘नियमित औषधि खान आउनेले छुटाउन थालेपछि हामीले फलोअप गर्‍यौं,’ सापकोटाले भने, ‘अब हामीलाई धर्मले नै बचाउँछ खाँदैनौं भन्नेको संख्या बढेको पाइयो ।’ एआरभी छोड्नेहरू माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका हुन् । उनीहरू संगतिमा जाने गरेको र ध्यान गरे एचआईभी संक्रमण नाश हुन्छ भन्ने भ्रम फैलाइएको सापकोटा बताउँछन् ।
यस्तै, आयुर्वेदिक औषधिबाट एचआईभी एड्सको संक्रमण निको हुन्छ भन्दै तीन जनाले एआरभी थेरापी छोडेका छन् । अर्का एकजनाले रक्सी खाएपछि सबै दुःख भुल्ने भन्दै औषधि लिन आनाकानी गरेको सापकोटा बताउँछन् ।
सेन्टरबाट कुल नौ सय नौजनाले एआरभी लिइरहेकोमा धर्म र फरक औषधिको नाममा एआरभी छोड्नेको संख्या १३ पुगिसकेको छ । सन् २०१९ मा एआरभी रेजिमेन सुरु गर्नेको संख्या एक सय १६ रहेको छ । तीमध्ये ६४ जना पुरुष, ४७ जना महिला र पाँच बालबालिका हुन् । अस्पतालको एआरटी सेन्टरमा यस वर्ष ८० जना नयाँ संक्रमित दर्ता भएका छन् । तीमध्ये ४३ पुरुष, ३५ महिला र दुईजना
बालबालिका छन् ।
पछिल्लो तथ्यांकअनुसार पुरुषमा बढी संक्रमण देखिएको छ । यद्यपि यसमा समलिंगी बढी संक्रमित भएको सापकोटा बताउँछन् । ‘समलिंगीहरूमा यसको जोखिम बढेको हामीले अध्ययन गरेका हौं,’ सापकोटाले भने, ‘तर खुलेर पहिचान नदिने हुँदा पुरुष संक्रमितको संख्या बढेको हो ।’ दुई महिनायता मात्र ११ जना समलिंगीमा एचआईभी संक्रमण प्रमाणित भएको छ । जिल्लामा चार हजार पाँच सय समलिंगी रहेको मानव सचेतना समाजको तथ्यांक छ । समलिंगी यौनकर्मी खुलेर आउन नचाहनु र औषधि खानसमेत बेवास्ता गर्नु चुनौती रहेको सापकोटाले बताए ।
जिल्लामा एचआईभी संक्रमणको फरक समूहमा देखिाएको सापकोटाको बुझाइ छ । ‘१० वर्षअघि सेन्टरको सुरुवात हुँदा युवापुस्तामा एचआईभी संक्रमण बढी थियो,’ उनले भने, ‘अहिले ४० कटेकाहरूमा जोखिम बढी देखिएको छ ।’ परिवारमा आएको विचलन, अधिकांश परिवार सदस्य विदेशमा हुनु, एक्लोपनाजस्ता कारणले मनोरञ्जनका लागि यौन रोज्नेहरूले जोखिम बढाएको उनको तर्क छ । जिल्लामा अझै पनि आठदेखि १० प्रतिशतले असुरक्षित यौनसम्पर्क गर्ने गरेको तथ्यांक छ । सन् २००७ मा स्थापना भएको केन्द्रमा हालसम्म एक हजार सात सय ९३ जना संक्रमित सम्पर्कमा आएका छन् ।

वाग्मती प्रदेश

चेपाङ गाउँमा बिजुली कार्यक्रम

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– मकवानपुरको अतिविकट तथा सीमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको राक्सिराङ गाउँपालिकामा विद्युतीकरणका लागि विशेष योजना लागू गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले क्षेत्रीय कार्यालय हेटौंडामार्फत ‘चेपाङ गाउँमा बिजुली’ कार्यक्रम लागू गर्ने भएको हो । अनुसार चालू आर्थिक वर्ष र आगामी आवमा विकट बस्तीमा विद्युत्
पुर्‍याइने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
‘राक्सिराङ, कैलाश तथा मनहरी गाउँपालिकासहित मकवानपुरका लागि यस आर्थिक वर्षमा प्राधिकरणले करिब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त बजेटबाट चेपाङ बस्तीलाई उच्च प्राथमिकतामा राखेर काम हुनेछ,’ हेटौंडामा त्यस क्षेत्रका जनप्रतिनिधिसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने । हाल मनहरी गाउँपालिकामा विद्युतीकरणको काम सकिएको, कैलाशमा आवश्यक प्रक्रिया अगाडि बढेर टेन्डर आह्वान भइसकेको र अब राक्सिराङलाई विशेष प्राथमिकतामा राखेर काम गरिने उनको भनाइ छ ।
राक्सिराङका अध्यक्ष मल्लका अनुसार यस गाउँपालिकामा रहेका करिब पाँच हजार घरधुरीमध्ये मुस्किलले पाँच सय घरमा मात्र विद्युत् सेवा पुगेको छ । ‘जति स्थानमा विद्युत् सुविधा उपलब्ध छ, त्यो प्राधिकरणको प्रसारण लाइनबाट होइन,’ उनले भने, ‘सोलार र गाउँमा स्थापना भएको पिको हाइड्रोबाट सम्भव भएको हो ।’ गाउँपालिकाको नौवटा वडामध्ये पाँचवटा वडामा मात्र विद्युत् सेवा छ ।

Page 7
उपत्यका

आत्मरक्षा तालिममा महिला र किशोरी

- कान्तिपुर संवाददाता
भक्तपुर नगरपालिका देकोचास्थित हिमालयन इंग्लिस स्कुलमा आत्मरक्षा तथा प्रतिरक्षासम्बन्धी तालिम लिँदै किशोरीहरू । तस्बिर ः लीला श्रेष्ठ/कान्तिपुर

भक्तपुर (कास)– आफूमाथि आक्रमण भए बालिका र किशोरीले कसरी प्रतिरक्षा गर्ने ?
दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन प्रहरीले भक्तपुरमा प्रतिरक्षा तथा आत्मरक्षा तालिम नै सुरु गरेको छ । समुदाय, विद्यालयमै यस्तो अभियान थालिएको हो । लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानअन्तर्गत ‘समानताको पुस्ता ः बलात्कारविरुद्ध ऐक्यबद्वता’ को नारालाई सार्थक बनाउन आत्मरक्षा तालिम सुरु गरिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक झलक शर्माले बताए । तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्नेबारे सिकाइन्छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका जुडो प्रशिक्षकले शारीरिक प्रतिरक्षा तथा आत्मरक्षाबारे तालिम दिइरहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती र प्रहरी वृत्त ठिमीले आमा समूहमा आबद्व महिला, गृहिणी, स्थानीय महिला जनप्रतिनिधि, विभिन्न संघसंस्थामा कार्यरत महिला कर्मचारी, विद्यालयमा अध्ययरत बालिका/किशोरीलाई तालिम दिइरहेको छ । तालिम लिइसकेका किशोरीलाई टोल–टोलमा अभियान नै सञ्चालन गर्न अभिप्रेरित गर्ने काम प्रहरीले गरेको प्रहरी वृत्त जगाती प्रमुख प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए ।
तालिममार्फत शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानुनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइएको प्रहरीले जनाएको छ । ‘धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे सिकाउँछौं,’ प्रहरी निरीक्षक शर्माले भने, ‘आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइएको छ ।’ आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिमबारे कसरी थाहा पाउने, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्ने र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषयमा पनि जानकारी गराइएको उनले बताए ।
समुदाय प्रहरी साझेदारीअन्तर्गत आफ्नो विद्यालयमा पनि आत्मरक्षासम्बन्धी कार्यक्रम गरेको हिमालयन इङ्लिस स्कुल देकोचाकी शिक्षिका सुलोचना दुवालले बताइन् । ‘पहिलेपहिले एक्लै हिँड्दा कसैले दुर्व्यवहार गर्छ कि भन्ने डर लाग्थ्यो, प्रतिरोध गर्ने आत्मविश्वास थिएन,’ उनले भनिन्, ‘अहिले यस्ता घटना रोक्न समाजमा कस्तो सचेतना फैलाउनुपर्छ भन्ने जान्न विद्यालयमा तालिम दिइएको हो ।’ सुरक्षित हुनका लागि शारीरिक र मानसिक उपायबारे पनि सिकाइरहेको उनले बताइन् । पछिल्लो समय बालिका तथा किशोरीमा यौनजन्य हिंसा बढेको घटनालाई लक्षित गर्दै प्रहरीले समुदाय साझेदारीअन्तर्गत लैंगिक हिंसाविरुद्व अभिभावक प्रशिक्षण कार्यक्रम गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ‘घरेलु मदिरा, जुवातास, न्यून आर्थिक अवस्थाकै कारण महिलाले भोग्नुपर्ने हिंसा न्यूनीकरणका लागि जनचेतना आवश्यक छ,’ प्रहरी नायव उपरीक्षक जोशीले भने ।

उपत्यका

सडकभरि भिखारी

प्रधानमन्त्रीले पटकपटक ‘अब कुनै नेपालीले सडकमा मागेर बस्न पर्दैन’ भने पनि राजधानीका सडकमा माग्नेहरू घटेका छैनन् 
- फातिमा बानु,सीमा तामाङ
राजधानीका सडकमा माग्न बसेकाहरू । तस्बिर ः फातिमा/कान्तिपुर

(काठमाडौं) - २०७५ चैत २८ मा नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘अब कुनै पनि नेपालीले सडकमा बसेर माग्न पर्दैन ।’ कसैले सडकमा मागिरहेको देखेमा सरकारलाई खबर गर्नसमेत आग्रह गर्दै उनले थपेका थिए, ‘सरकारले माग्नै नपर्ने वातावरण बनाउँछ, त्यसैले अब कसैले पनि माग्न पाउँदैन ।’
- सात महिनाअघि राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा त्यही कुरा दोहोर्‍याउँदै उनले भने, ‘कोही व्यक्ति सडकमा मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ ।’
- गत असोज १३ गते देशलाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रममा उनले फेरि भने, ‘अब नेपाललाई छिट्टै सडकमानवमुक्त, भिखारीमुक्त देश घोषणा गर्नेछौं ।’
प्रधानमन्त्रीले पटकपटक यस्ता ‘घोषणा’ गरे पनि राजधानीका सडकमा जताततै हात थापिरहेका मगन्ते देख्न सकिन्छ । तिनको दयनीय अवस्थाले प्रधानमन्त्रीकै भनाइलाई गिज्याइरहेको छ ।

- सर्लाही मलंगवाका ४७ वर्षीय किशोर साह
ह्वीलचियरमा बसेर पैदलयात्रुसँग पैसा माग्न हात थापिरहेका थिए । कोही उनलाई पैसा दिन्थे, केही भने वास्तै नगरी अघि बढ्थे । पैसा लिँदा उनको हात थरथर काँपिरहेको थियो ।
वीर अस्पतालवरिपरि माग्न बस्ने उनी मंगलबार भने न्युरोडको भूगोलपार्कमा देखिए । ‘पहिले त गाउँमा काम गरेर खान्थेँ । बस दुर्घटनामा परेर दुवै खुट्टा नचल्ने भयो,’ उनले भने, ‘आमाबुवा सानैमा बित्नुभएको थियो । घरमा दाजुभाउजूले हेला गरेर टिक्न नदिएपछि मागेर खानुपर्ने भएँ ।’
टेकुमा कोठा लिएर पढ्न बसेका भदाले उनलाई बास दिएका छन् । मागेरै उनी दैनिक तीन सय रुपैयाँसम्म भेला पार्छन् । जति रकम हुन्छ, भदालाई नै राख्न दिन्छन् । ‘मलाई उसैले पकाएर खुवाउँछ । कहिलेकाहीँ त माग्न बसेको ठाउँमै खाना ल्याइदिन्छ,’ उनले भने, ‘गाह्रो पर्दा अस्पताल लगिदिन्छ । मागेको आधा पैसा उपचार खर्चमै सकिन्छ ।’
सिन्धुपाल्चोककी ८० वर्षीया कान्छी तामाङ पनि वसन्तपुर क्षेत्रमा तीन दशकदेखि मागेरै गुजारा गरिरहेकी छन् । मागेरै उनले छोरी हुर्काइन्, पढाइन् । ‘३० वर्षअघि श्रीमान् बितेपछि छोरा–बुहारीसँगै बसेकी थिएँ, काम गर्न नसक्ने भनेर नराम्रो व्यवहार गर्न थालेपछि छोरी लिएर निस्किएँ,’ उनले सम्झिइन्, ‘धेरै वर्ष त अर्काको घरको चिसो छिँडीमा छोरी लिएर सुतेँ ।’ अहिले उनकी छोरी नै कमाएर कोठाभाडा तिर्ने भइसकेकी छन् । उनी भने बिहान १० बजेदेखि अँध्यारो नभएसम्म माग्न बस्छिन् । पैसा त दिनमा एक सय पनि हुँदैन । एक छाक पुग्ने चामलसम्म दिन्छन्,’ उनले भनिन् ।
न्युरोड र वसन्तपुरमात्र होइन रत्नपार्क, जमल, सुन्धारा, भोटाहिटी, कान्तिपथलगायत राजधानीका कुनै सडक यस्ता छैनन्, जहाँ माग्नेहरू नभेटियून् । यसरी बस्नेहरू कसैले हातखुट्टामा चोट लागेको देखाउन पट्टी बाँधेका हुन्छन् । कोही भने गम्भीर रोगले थलिएको भन्दै माइक बजाएर बस्ने हुन्छन् । कसैले ससाना बच्चा च्यापेका हुन्छन् । अझ दृष्टिविहीनहरू त गीत गाएरै सहयोग मागिरहेका भेटिन्छन् ।
नेपालको संविधानले आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । आर्थिक वर्ष ०७५/७६ को बजेट वक्तव्यले समेत ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने नारा तय गर्दै अशक्त, असहायले सडकमा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास दिलाएको थियो । तर सडकमा माग्न बस्नेहरू न कम भएका छन्, न त तिनका लागि राज्यले केही गरेकै छ । तमाम प्रतिबद्धता उनीहरूका लागि नमिठो ठट्टा बनेका छन् ।
सडकमा माग्न बस्नेहरूका आफ्नै बाध्यता छन् । दोलखा चरिकोटका कमल क्षेत्री असन वरपर रिक्सा चलाएर परिवार पाल्थे । दुई वर्षअघि उनलाई मोटरसाइकलले ठक्कर दिएर अशक्त बनायो । ‘श्रीमती मानसिक बिरामी छिन् । छोराछोरी छैनन्,’ उनले भने, ‘कमाउने मै एउटा पनि घाइते भएपछि बिहान–बेलुकाको छाक टार्न मुस्किल भयो । माग्नुको विकल्प नै भएन । घाइते भएको दिनदेखि मैले कोठाभाडा तिरेको छैन ।’ अहिले उनी श्रीमती लिएरै असन क्षेत्रको गल्लीमा माग्न बसेका छन् । बाटो हिँड्नेले पैसा दिएको दिन उनको कोठामा खाना पाक्छ, नत्र भोकै पर्छन् ।
काभ्रेकी सानु तामाङले वसन्तपुर क्षेत्रमा मागेरै गुजारा चलाएको नौ वर्ष पुग्यो । ४५ वर्षीया उनका श्रीमान् भारी बोक्ने काम गर्थे । एक वर्षअघि खुट्टा भाँचिएपछि उनी पनि श्रीमतीमै आश्रित छन् । ‘छोरीहरू बिहे गरेर गइसके,’ उनले भनिन्, ‘कहिलेकाहीँ देख्छु, तर उनीहरू नदेखेजस्तो गर्छन् ।’ मागेकै पैसाले श्रीमान्लाई औषधिसमेत जुटाउने गरेको उनले बताइन् ।
सडकमा माग्नेहरूको कथा बुझ्न जाँदा कतिपयले भने हामीलाई शंकाको नजरले हेरे । कुन संस्थाबाट आएको ? हामीलाई पाल्न लैजाने हो ? भन्दै उल्टै प्रश्न गरे । बुझ्दै जाँदा थाहा भयो, माग्ने ‘धन्दा’ चलाउनेहरू पनि काठमाडौंका सडकमा कम रहेनछन् ।
सरिता नेपालीले दुई छोरीलाई महांकाल मन्दिरअगाडि माग्नकै लागि राखेकी रहिछन् । ठूली छोरीसहित उनी तिनको निगरानी गरिरहन्छिन् । माग्न बसेकी माइली छोरीले भनिन्, ‘बुबा सातदोबाटोमा लुगा सिलाउनुहुन्छ । कोठा पनि त्यहीँ छ ।’ आफ्नो उमेर भने उनले बताइनन् । उनीसँग कुरा गर्दागर्दै जेठी दिदी आइन् र बहिनीले भनेको कुरा पत्रिकामा नलेख्न अनुरोध गर्न थालिन् । त्यति नै बेला आमा पनि टुप्लुक्क आइपुगिन् । उनले भनिन्, ‘हामी सडकमा बस्छौं । सडकमै खान्छौं । श्रीमान् पनि यस्तै काम गर्नुहुन्छ । बच्चाको कुरा नपत्याउनु है ।’
मुलुकी अपराध संहिता २०७४ ले सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने व्यवस्था गरेको छ । यसरी माग्नेलाई दुई महिनासम्म कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ । तर, संविधान र कानुनका व्यवस्था आजका मितिसम्म कागजबाट ओर्लेर माग्नेहरूसम्म आइपुगेका छैनन् ।
अब माग्ने देख्नु पर्दैन ः मेयर शाक्य
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सडकमा माग्नेको व्यवस्थापन गर्न अभियान नै चलाउन लागेको बताए । मंसिर २९ मा हुने २५औं महानगर दिवसमा महानगरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गर्ने निर्णयसँगै सडकमा माग्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ । ‘सडकमा माग्नेलाई व्यवस्थापन गर्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘सबैलाई सुरक्षित बसोबासको व्यवस्था गर्नेछौं ।’ कोही व्यक्ति भोकै नपरून्, भोकै नमरून् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको शाक्यले बताए ।
‘सडकमा मागिरहेको मैले पनि देखेको छु । विगतको जस्तो जताततै नभएपछि अहिले कम भएको छ,’ उनले भने, ‘नमाग्दा भोकै हुने अवस्था आउनेलाई खाना र बस्ने व्यवस्था गर्दै छौं,’ उनले भने, ‘बिरामी हुनेलाई उपचार गर्छौं । परिवारबाट एक्लिएकालाई मिलन गराउँछौं ।’

उपत्यका

गणेश मन्दिर मगन्तेरहित

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– सूर्यविनायक गणेश मन्दिर प्रबन्ध समितिले मन्दिर परिसरलाई मगन्तेरहित क्षेत्र घोषणा गरेको छ । मन्दिर क्षेत्रमा मगन्तेले धर्मावलम्बी र पर्यटकलाई मागेर दुःख दिने, अभद्र व्यवहार गर्ने गरेको गुनासो बढेपछि समितिले उनीहरूलाई हटाएको हो । मगन्ते व्यवस्थापनका लागि सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो । ‘मन्दिरमा मागेको पैसा मिटर ब्याजमा लगाएको पाइएपछि उनीहरूलाई हटाएका हौं,’ अध्यक्ष थापाले भने । बेवारिसे, अशक्त र मागेर गुजारा चलाउनेलाई मानव कल्याण सेवाघर पठाइएको छ ।

उपत्यका

काष्ठकलामै आनन्द

- सीमा तामाङ

(ललितपुर) - हातमा छिनो लिएर ढोकाको चौकोसका लागि काठमा सुनौला बुट्टा निकालिरहेकी थिइन्, लक्ष्मी शाक्य । पुल्चोककी ५१ वर्षीया शाक्यले काठमा कला भर्न थालेको एक दशक बित्यो । १५ वर्षको उमेरमै सिकेको सीपले बीचमा निरन्तरता नपाए पनि अहिले उनी त्यही सिपका कारण गर्जो टारिरहेकी छन् । ‘बिहे भयो, बच्चाहरू भएपछि छोडेको कामलाई अहिले निरन्तरता दिएकी छु,’ उनले भनिन् ।
लगनखेल–सातदोबाटो सडकखण्डको पाँचवटा सटरमा उनीजस्तै १५ जना महिलाले काठमा खालखालका बुट्टा भर्ने गरेका छन् । सडक किनारामा बुट्टा भर्दै गरेका उनीहरूलाई देखेपछि कतिपयले भन्दा पनि रहेछन्, ‘महिलाले पुरुषको काम पनि गर्छन् ?’ भित्रै आएर सोध्नेलाई शाक्यको जवाफ छ, ‘महिलाको पनि मुख हुन्छ, हातखुट्टा हुन्छ ।’ महिला पनि काममा उत्तिकै दक्ष हुने उनको अनुभव छ ।
उनी ढोकाको छेउछाउ, झ्याल, चौकोस र खापामा बुट्टा खोप्छिन् । सधैं आउनुपर्छ भन्ने बाध्यता पनि छैन उनलाई । ‘अरू काम पर्दा र बिरामी पर्दा आउँदिनँ,’ उनले भनिन्, ‘आफूले गरेको कामअनुसार पैसा पाउने हो, घरमा यतिकै बस्नुभन्दा आफ्नो हातमा भएको सीप प्रयोग गर्ने हो ।’ काष्ठकलामा रमाउन सके एकचोटि सिकेको सीप जीवनभर रहिरहने उनको भनाइ छ ।
पाटनस्थित सुन्धाराकी विष्णुमाया महर्जन पनि शाक्यजस्तै काम गर्छिन् । १६ वर्षको उमेरमा पाटन औद्योगिक क्षेत्रभित्र सिकेको सीपलाई उनी नौ वर्षयता निरन्तरता दिइरहेकी छन् । ‘बीचमा परिवार र बच्चाहरूको हेरचाहका लागि काम गर्न छोडे पनि अहिले दैनिक काठमा बुट्टा खोपिरहेकी छु,’ ५० वर्षीया महर्जनले भनिन् । घरमा यत्तिकै बस्नुको सट्टा काम गर्दा कमाइ पनि हुने र सीप पनि बाँचिइरहने उनको भनाइ छ । पहिलाभन्दा अहिले धेरै महिला काष्ठकलामा आबद्ध रहेको उनले सुनाइन् । सहरका मात्र होइन, गाउँका महिला पनि काठमा बुट्टा भर्न सिक्न आउने गरेका छन् । उनको अनुभवमा सिकेर मात्र हुन्न, कामलाई निरन्तरता दिन सक्नुपर्छ । ‘मैले सिकेको बेला पाँच जनाको समूह थियो, तर निरन्तरता दिने म एक्ली हुँ,’ उनले भनिन् । शाक्य र महर्जनजस्ता महिला दैनिक सात सय रुपैयाँ कमाउँछन् । काम गरेअनुसार पारिश्रमिक पाउने भएकाले अरूको भर पर्नु नपर्ने र आफूलाई चाहिने खर्च मनखुसी गर्न सकिने भएकाले उनीहरू सन्तुष्ट छन् ।

उपत्यका

नारायणगोपालको सम्झनामा भवन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा ‘नारायणगोपाल पेमला सुरमय गीत–गंगा भवन’ निर्माण हुने भएको छ । गायक नारायणगोपालको २९औं स्मृति दिवसको अवसरमा बिहीबार महाराजगन्जस्थित नारायणगोपाल चोकमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गरे । करिब ६ करोडको लगानीमा भवन निर्माण हुनेछ । ‘यस वर्षका लागि तीन करोड विनियोजन गरेका छौं,’ उनले भने । महानगरले स्रष्टाको सम्मानमा कन्जुस्याइँ नगर्ने उनको भनाइ थियो । प्रस्तावित भवनको भूमिगत तलामा पार्किङस्थल, पहिलो तलामा संगीत कक्ष र प्रशासन, दोस्रोमा  पुस्तकालय र तेस्रो तलामा संयुक्त थिएटर रहनेछ । अपांगमैत्री बन्ने भवनका लागि देवीथान/इन्द्रयणी/सुप्रिम जेभीले ठेक्का पाएका छन् ।

उपत्यका

लागूऔषधसहित पक्राउ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रहरीले प्रतिबन्धित लागूऔषधसहित मकवानपुरका दुई जनालाई काठमाडौं महानगरपालिका–३२ स्थित फेमिली क्याफेबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे बनेपा बस्ने मकवानपुर हेटौंडाका सुवास पराजुली र मनीष शाही छन् । उनीहरूको साथमा नाइट्राभेट १ सय ५० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

उपत्यका

उत्कृष्ट स्वयंसेवीलाई एक लाख दिइने

- कान्तिपुर संवाददाता

ललितपुर (कास)– ललितपुर महानगरपालिकाले उत्कृष्ट तीन स्वास्थ्य स्वयंसेवकलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । विश्व स्वयंसेवक दिवसको अवसरमा महानगपालिकाले यस्तो घोषणा गरेको हो । ‘सामाजिक विकास समितिको सिफारिसमा यस वर्ष उत्कृष्ट हुने दुई महिला र एक पुरुष स्वास्थ्य स्वयंसेवकलाई एकएक लाख पुरस्कारसहित सम्मान गर्नेछौं,’ मेयर चिरिबाबु महर्जनले भने । स्वास्थ्य सेवामा उनीहरूले गरेको योगदानकै कारण १० वर्षको दौरानमा एचआईभी पोजेटिभ भएका बिरामीको संख्या ५८ प्रतिशत घटन सफल भएको उनको भनाइ थियो ।
‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ प्रवर्द्धनमा अहम् भूमिका’ नारासाथ सम्पन्न स्वास्थ्य स्वयंसेवी सम्मान तथा प्रोत्साहन कार्यक्रममा महानगरले ८३ जनालाई सम्मान गरेको छ । ललितपुर महानगरमा पाँच सय ६८ स्वास्थ्य स्वयंसेविका छन् । प्रदेश ३ ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले स्वयंसेविकालाई सुरक्षाको प्रत्याभूति दिएमा समुदायको स्वास्थ्य स्तरलाई अझ राम्रो र प्रभावकारी बनाउन सकिने बताए ।

Page 8
सम्पादकीय

भ्रमण वर्षको भद्रगोल

२० लाख पर्यटक भित्र्याउने भनिएको नेपाल भ्रमण वर्ष–२०२० सुरु हुन २६ दिनमात्रै बाँकी छ । तर लक्ष्य जति महत्त्वाकांक्षी छ, समय घर्कंदै जाँदा पनि त्यहीअनुरूप तयारी भएको पाइँदैन । सामान्यभन्दा दोब्बर बढी पर्यटक भित्र्याउन आवश्यक प्रबन्ध र सुधार भएको देखिँदैन । सरकारले भ्रमण वर्ष सचिवालय बनाएर काम गरे पनि त्यसकै सदस्यहरूको गुनासो छ– विश्व बजारमा नेपाल प्रवर्द्धन गर्ने आक्रामक र आकर्षक प्रचारशैली अपनाइएको छैन । पर्यटन बोर्डले वर्षौंदेखि जे गर्दै आएको छ, सचिवालयका गतिविधि पनि उस्तै छन् ।
भ्रमण वर्ष सफल पार्न पर्यटन मन्त्रालयले पूर्वाधार, सम्पदा निर्माण, सुरक्षा र पाहुना सत्कारसँग जोडिने केन्द्रीय निकायदेखि प्रदेश सरकारहरूसित पनि उचित समन्वय गर्नुपर्ने हुन्छ । सबैतिर उचित समन्वय त परको कुरा, भ्रमण वर्ष सञ्चालन गर्न गठित पर्यटनमन्त्रीको अध्यक्षताको मूल आयोजक समिति र पर्यटन सचिवको अध्यक्षताको कार्यक्रम कार्यान्वयन उपसमितिका बैठकमा पनि पूरा सदस्य उपस्थित हुँदैनन् । भ्रमण वर्ष संयोजक सुरज वैद्यले नेतृत्व गरेको ‘कार्यक्रम कार्यान्वयन उपसमिति’ का सदस्य र कर्मचारी आफैं अझै उद्घाटन कार्यक्रमबारे समेत अलमलमा छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको र विभिन्न देशका पर्यटन मन्त्रीहरूसमेत निम्त्याएको उक्त कार्यक्रमबारे गहन छलफल नै नहुनुले सुखद सन्देश दिएको छैन । यसले के देखाउँछ भने, कि यी समितिहरू नामका लागि मात्रै बनेका हुन् कि यसका सदस्यहरूले भ्रमण वर्षप्रति नै राम्ररी अपनत्व लिएका छैनन् । समितिमा बसेपछि जिम्मेवार बन्ने कर्तव्य सम्बन्धित सदस्यको हो भने उनीहरूलाई विश्वासमा लिएर सक्रिय बनाउने दायित्व सरकारको ।
भ्रमण वर्ष घोषणा भएको लामो समय बितिसक्दा पनि पूर्वाधारका पक्षमा खासै सुधार भएको छैन । मुख्य पर्यटकीय गन्तव्यहरूमै पूर्वाधारहरू न गतिला छन् न अपांगमैत्री । काठमाडौंभित्र विश्वसम्पदा जोड्ने बाटोघाटो पनि राम्रा छैनन्, प्रदूषणका कारण मास्क नलगाई बाहिर निस्कनै मुस्किल छ । ट्याक्सीलगायत सार्वजनिक यातायात सेवा पनि गुनासोरहित छैन । यसबीचमा मुलुकमा न थप विमानस्थल बन्यो, न नयाँ ट्रेकिङ ट्रेल नै खुल्यो । काठमाडौं विमानस्थलको सामान्य ‘सौन्दर्यकरण’बाहेक अरू उल्लेखनीय काम भएका छैनन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भ्रमण वर्षकै दौरान सञ्चालनमा आउने योजना छ, यसलाई मूर्तरूप दिन आवश्यक छ । भूकम्पबाट भत्किएका ८ सय ९१ सम्पदामध्ये आधाभन्दा कम ३ सय ८७ को मात्र पुनर्निर्माण भएका छन् । पर्यटकका लागि भिसा छुटजस्ता सहुलियतको घोषणा पनि भएको छैन ।
पर्यटकको बसाइ र आम्दानी कति बढाउने भन्ने स्पष्ट योजना पनि सरकारसित देखिँदैन । सन् २०१७ मा एक पर्यटकले दैनिक औसत ५४ अमेरिकी डलर खर्च गरेकोमा सन् २०१८ मा ४४ डलरमा झर्‍यो । संख्यात्मक मात्र होइन, गुणात्मक पर्यटन बढाउन पनि यो पक्षमा विचार पुर्‍याउन आवश्यक छ । सरकारले यसअघि सन् २०१० मा पर्यटक वर्ष मनाउँदा अपेक्षित सफलता मिलेको थिएन । १० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दा त्यतिबेला ८ लाखमात्रै आएका थिए । अब पनि समय छ, त्यतिबेला सिकेका पाठहरू यसपालि कार्यान्वयनमा ल्याउन सकिन्छ । यसैबीच, नेपाल पर्यटन बोर्ड प्रमुखको पदावधि सकिँदैछ । पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने यो निकायमा समयमै दक्ष नयाँ नेतृत्व चयन गर्न सक्नुपर्छ । विगतमा बोर्ड लामो समयसम्म कायममुकायमकै भरमा चलेको उदाहरण छ, अब त्यसको पुनरावृत्ति हुनुहुँदैन ।
चुनौतीपूर्ण भए पनि भ्रमण वर्ष देशका लागि ठूलो अवसर हो । यसलाई सफल पार्न सरकारले आफ्ना निकाय र निजी क्षेत्रसित उचित समन्वय गर्नुपर्छ । १८ जना म्यादी कर्मचारी भएको भम्रण वर्ष सचिवालयमा पनि आपसमा ‘शक्ति टकराव’ भएर काम नहुनु भने उदेकलाग्दो छ । यस्तो जुँगाको लडाइँको मारमा यति ठूलो कार्यक्रम पर्नु हुँदैन । घोषणाअनुसार भ्रमण वर्ष सफल बनाउन मन्त्रालय र सचिवालयले कुनै कसर बाँकी राख्न हुँदैन । लक्ष्यअनुसारका पर्यटक ल्याउने, उनीहरूलाई सकेसम्म धेरै दिन टिकाउने र त्यसबाट मुलुकले अधिकतम लाभ लिन वातावरण निर्माणमा सबैपक्ष एकजुट हुनुपर्छ । आउने पर्यटकले उचित आतिथ्यता पाउनुपर्छ । ‘लाइफटाइम एक्सपिरिअन्स’ नारा तय भएको भ्रमण वर्षले पर्यटकहरूलाई साँच्चिकै उनीहरूको जीवनकालकै महत्त्वपूर्ण अनुभव दिलाउन सक्नुपर्छ । अनि मात्रै भोलिका दिनमा उनीहरू नै नेपालको मौखिक प्रचार गर्ने दूत बन्नेछन् र हाम्रो पर्यटन क्षेत्रको दिगो विकास सम्भव हुनेछ ।

 

सम्पादकलाई चिठी

यसरी हुन्छ, भ्रमण वर्ष व्यवस्थित

- कान्तिपुर संवाददाता


भ्रमण वर्ष २०२० नजिकिँदैछ । सरकार र मातहतका निकायहरूले मात्र होइन, व्यवसायी, निजी संस्थाहरूले पनि भ्रमण वर्ष सफल पार्न निकै प्रयत्न गरिरहेका छन् । भ्रमण वर्ष नेपाललाई चिनाउने र नेपालीले गर्व गर्नुपर्ने पर्व हो । सरकार, संघ–संस्था र व्यवसायीहरूले चालेको सराहनीय काममा समस्त नेपालीले सहयोग र सहकार्य गर्नुपर्छ । सरकार, मातहतका निकाय र संघ/संस्थाहरूले पनि जनस्तरमा कार्यक्रम सञ्चालन र विस्तार गर्नु र गराउनुपर्छ । सरकारले विशेष ध्यान दिनुपर्ने पाटो भनेको फुटपाथको हो । विदेशबाट आउने पाहुनाहरूलाई सुरक्षित आवत–जावत गर्न फुटपाथ अपरिहार्य हुन्छ । स्थानीयबासीको सुरक्षामा सरकारले जति नै उपेक्षा र ध्यान नदिए पनि जनताले मौनता साँचेकै छन् । तर पर्यटकहरूले दुःख, सास्ती र हन्डर पाउनु हुँदैन । सरकारले सडकका किनारहरूमा जतिसक्दो फुटपाथ बनाउनु जरुरी छ । साथै चोक, गल्ली, जेब्राक्रसिङहरूमा रेखाङ्कन गर्न अत्यावश्यक छ
भने ट्राफिक प्रहरीको जनशक्तिले व्यवस्थित काठमाडौं उपत्यकाका सडक सञ्जाल र सवारी चापलाई वैज्ञानिक तरिकाले व्यवस्थित गर्न
ट्राफिक बत्ती जडान गर्नु अर्को आवश्यकता हो ।
संघीय, प्रादेशिक र स्थानीय सरकारहरूले मिलेर फुटपाथ व्यवस्थापन र स्थायित्वमा जोड दिनुपर्छ ।
– उज्ज्वल श्रेष्ठ, [email protected]

सम्पादकलाई चिठी

ओरालो लाग्दै सार्वजनिक शिक्षा

- कान्तिपुर संवाददाता

अधिकांश स्थानीय तहका पदाधिकारीमा विद्यालय सुधार सम्बन्धी योजना निर्माण तथा आर्थिक लगानी गर्ने जाँगर देखिएन । त्यसैकारण सार्वजनिक शिक्षा गञ्जागोल अवस्थामा छ । विद्यालय सिकाइको अवस्था निरन्तर ओरालो लागेको छ भने पिउनेपानी, शौचालय तथा सरसफाइ व्यवस्था पनि राम्रो छैन । यसमाथि पनि अंग्रेजी नै नजान्ने शिक्षकलाई कक्षाकोठामा अंग्रेजी भाषामा अध्यापन गर्ने जिम्मा लगाएर बालबालिकालाई खुलस्त बोल्ने र सिक्ने अवसरबाट विमुख गरिएको छ । समग्रमा, विद्यालय यातनालयमा परिणत भएको छ । यी तमाम समस्या राज्यले चाहेमा तत्काल सुधार्न सक्छ । अल्पकालीन र दीर्घकालीन योजना ल्याएर प्रभावकारी ढंगले अघि बढ्न ढिला नगरौं । भविष्यका कर्णधार जसले देश र समाज बोक्छ, तिनका लागि अत्यावश्यक लगानी गर्न डराउने हो भने राज्य निकम्मा भयो भन्ने बुझे हुन्छ ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

सम्पादकलाई चिठी

सेवा नभएको देश

- कान्तिपुर संवाददाता


पछिल्लो समय राज्यले अपाङ्गता भएकाहरूका लागि केही सेवा दिने चेस्टा गरे पनि पर्याप्त
मात्रामा गर्नसकेको छैन । उनीहरू अधिकारबाट वञ्चित छन् । सेवा पाइरहेका छैनन् ।
सरकारले हरेक कार्यालय तथा सडक अपाङ्गमैत्री बनाउने घोषणा गरेको छ । के सरकारी कार्यालय तथा सडकमा अपाङ्गहरूलाई हिँडडुल गर्न सहज छ त ? सडक विभागको योजना अनुसार कम्तीमा सडकपेटी १ मिटर हुनुपर्छ । अहिले राजधानीका सडकपेटी १ मिटरका छन् त ? सडक मात्र फराकिलो पारेर सडकपेटी साँघुरो भयो भने पैदलयात्री कहाँबाट हिँड्ने ? कानुन बनाउने एउटा, काम गर्ने अर्कै भएपछि कानुनचाहिँ किन बनाइरहनुपर्‍यो ? सार्वजनिक बसहरूमा २ सिट अपाङ्गका लागि भनेर लेखिएको हुन्छ । तर, चालक तथा सहचालकहरूले अपाङ्गलाई देखे भने बस नै नरोकी दौडिन्छन् । बसको सिटमाथि अपाङ्ग लेख्दैमा के भयो ? स्कुल, कलेजहरू पनि अपाङ्गमैत्री हुनुपर्छ भन्ने छ । के अहिले काठमाडौंमा सञ्चालित स्कुल, कलेजहरूमा त्यस्तो व्यवस्था छ त ? निजामती सेवामा अपाङ्गता भएकाहरूलाई ५ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । के त्यो आरक्षण अपाङ्गहरूले पाएका छन्् त ? सरकारले अपाङ्गता भएकाहरूको स्तर वर्गीकरण गरी त्यसैको आधारमा मासिक भत्तादिँदै आएको छ । पूर्ण अपाङ्ग भएकाले ३ हजार रुपैयाँ पाउँछन् । यसले के गर्ने, यो महँंगीमा ? यसतर्फ राज्यको ध्यान जानु आवश्यक छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौँ

सम्पादकलाई चिठी

टिपर चालकको ज्यादती

- कान्तिपुर संवाददाता

पछिल्लो समय मालवाहक टिपरको ज्यादती बढ्दै गइरहेको छ । विशेषगरी टिपरले पैदलयात्रीलाई निसाना बनाएर दुर्घटना निम्त्याइरहेको पाइन्छ । केही दिनअघि उदयपुर गाईघाटका समिर विकलाई फुटपाथमा चटपटे खाँदै बसिरहेको बेला टिपरले ठक्कर दियो र घटनास्थलमै मृत्यु भयो । अलिक अघि पनि एकजना पैदलयात्रीले टिपरकै कारण ज्यान गुमाउनुपर्‍यो । टिपरले धेरै पैदलयात्री तथा अन्य सवारीमा सवार यात्रीलाई दुर्घटनामा पारेको हुनाले काठमाडौंमा चक्रपथभित्र बेलुका ८ बजेपछि मात्र टिपर चलाउन पाइने नियम राखी टिपरलाई दिउँसो सडकमा हुइँकिन बन्देज लगाइएको छ । तथापि भित्री सडकहरूमा दिउँसै टिपर हुइँकिरहेका छन् । टिपर आउँदा परैबाट साइड लागी डराउनुपर्ने अवस्था छ । साँघुरो तथा खाल्डाखुल्डी सडकमा पनि टिपर जताभावी हुइँकिने हुनाले धेरै दुर्घटना निम्त्याइरहेको छ । टिपर चालकहरू प्रायः किशोर अवस्थाका छन् । उनीहरूले पूरै सडक टिपरका लागिमात्र हो भनी कुदाउँदा दुर्घटना बढिरहेको छ । पैदलयात्रीलाई टिपरको थर्कमानबाट जोगाउन सबै पक्ष कडाइसाथ लाग्नु जरुरी छ ।
– गोविन्द विक, बुनपा–१२, कपन, काठमाडौँ

सम्पादकलाई चिठी

तथ्य, प्रमाणसहित वार्तामा बसौँ

कालापानी सीमा अतिक्रमणको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न सरकारले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भारत पठाउन खोजेको तर भारतीय प्रधानमन्त्रीले भेटका लागि समय नदिँदा नेपालको भ्रमण रोकिएको चर्चा छ । यथार्थ के हो, त्यो नेपाल सरकारले प्रस्ट नपार्दा सबै दुविधामा छन् । मोदीलाई विश्वस्त पारी कालापानी र सुस्ताको भारतीय अतिक्रमण हटाउनसके त्यो माधवकुमार नेपालको मात्र होइन, सम्पूर्ण नेपालीको ठूलो जित हुनेछ । यो विषय माधवको अग्निपरीक्षाको हो । तार्किक क्षमताका धनी माधवकुमारबाट यो काम
होला भन्ने लाग्छ । उनीबाट पनि भएन भने त्यसपछि सिधै ओलीले मोदीसँग कुरा गर्नुपर्छ ।
मोदीले यसअघि पनि दुवै देशका प्रबुद्ध नागरिक समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन बुझ्न आनाकानी गरिरहेका छन् । यसले गर्दा भारतको नियतप्रति जनमानसमा सधैं शंका/उपशंका उब्जिने गरेको छ । के भारतीय प्रधानमन्त्रीले भेट गर्न नचाहँदैमा नेपाल मौन भएर आफ्नो सीमा अतिक्रमण टुलुटुलु हेरेर बस्न मिल्छ ? भारत कुरा गर्न चाहँदैन भने कालापानी, सुस्ता समस्यालाई नेपालले किन अन्तर्राष्ट्रियकरण गर्न नहुने ? जनता जति जागे पनि सरकार निदाएर बसेमा यो समस्या समाधान हुँदैन । सरकारले यस प्रकरणमा अहिलेसम्म के–के गर्‍यो, त्यसको फेहरिस्त सार्वजनिक गरे मात्र सरकार यस मामलामा गम्भीर भएको सन्देश जान्छ । अन्यथा जनताको आक्रोश सरकारप्रति नै तेर्सिन सक्छ । संप्रभूताको जल्दोबल्दो समस्या हो, कालापानी । सबै राजनीतिक दल र जनताले साथ दिइरहेका बेला भारतसँग खुट्टा दह्रो गरेर तथ्य, प्रमाणका आधारमा आफ्नो प्रभुसत्ताको अडान राख्न सक्नुपर्छ ।वार्ताको नाममा यो विषयलाई अल्झाइरहनु हितकर हुँदैन ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौँ

दृष्टिकोण

कालापानी र कूटनीति

- ध्रुव कुमार

भारतको नयाँ नक्सा प्रकरण र कालापानीमा आफ्नो प्रभुसत्ता खण्डित भएको कारणले नेपालीहरूको विरोध प्रदर्शन एक महिना नाघिसक्दा पनि कुनै न कुनै तवरमा जारी छ । बरु उग्रराष्ट्रवादी हुँकारसहित काठमाडौंका सडकमा ओर्लेका जमातको स्थान यहाँबाट हजारौं माइल टाढा सात समुद्र पारिको देश बेलायतको राजधानी लन्डनमा सरेको छ । हालै लन्डन ब्रिजमा आतंककारी हमलाको कारण तोकिएको स्थलमा मात्र विरोध प्रदर्शन गर्न छुट भएको हुँदा त्यहाँ गैरआवासीय नेपालीहरूको संगठन (एनआरएन) ले इन्डिया हाउस (भारतीय उच्चायुक्त) अगाडि शालीन प्रदर्शन गर्दै भारतीय उच्चायुक्त कार्यालयमा विरोधपत्र बुझाएको छ । त्यस्तै आन्ध्र महासागर पारिको अमेरिकी राजधानी वासिङ्टन डीसीमा पनि गैरआवासीय नेपालीहरूले विरोधसभा आयोजना गर्दैछन् । सडकमा ओर्लिएका यी विरोध प्रदर्शनहरूले भारतीय मिचाहा प्रवृत्तिबारे अन्तर्राष्ट्रिय स्तरमै जानकारी गराउन ठूलो सहयोग पुर्‍याएका छन् । मुलुकभित्र ‘सीमा बचाउ अभियान’ ले जनस्तरबाट बनाएको नेपालको नक्सा हस्तान्तरण गर्नुका साथै सरकारलाई श्वेतपत्र जारी गर्न माग राखेको छ ।
नेपालको दशकौंदेखिको दाबी अनुसार सुदूर पश्चिमोत्तरको लिम्पियाधुरा नै काली वा महाकाली नदीको मुहान/उद्गमस्थल भएको हुँदा ऐतिहासिक सुगौली सन्धिकै आधारमा काली नदीपूर्व तटवर्ती भूभाग स्वतः नेपालको हुने भएकोले त्यो अहिले भारतीय अतिक्रमित भूभाग भएको छ । दाबी गरिए अनुसार ती भूभाग फर्काउन नेपालले कूटनीतिक सक्रियतासितै आफूले उपयोग गर्नसक्ने विकल्पबारे सोच्नुपरेको छ । किनभने जुन भूभाग अतिक्रमित भएको हामीले दाबी गरेका छौं त्यो हाम्रोनिम्ति मात्र नभई भारत र चीनसमेतको लागि संवेदनशील क्षेत्र रहेको छ । भारतमाथि त अतिक्रमणकारी भएको हामीले संगीन आरोप लगाएका छौं । साथै कालापानी क्षेत्रमा भारतीय सेनाको उपस्थितिको विरोध गर्दै आएका छौं । नेपालले लिम्पियाधुरालाई नै नेपाल–भारत–चीनको त्रिदेशीय सीमाविन्दु ठहर गरिआएकोले त्यसको पुष्टिको निम्ति यथेष्ट ऐतिहासिक नक्सा तथा तथ्यहरू पनि जुटाएको छ । तर महाकाली नदीको मुहान नै विवादित रहेको र नेपालको सीमा चीनसित पनि जोडिएको हुँदा भारतसितको सीमा विवादमा त्रिदेशीय सीमाविन्दुको कारण चीनसमेत मुछिन पुगेको प्रतीत हुन्छ । अहिले कालापानी क्षेत्र विवादित हुनु र चीनले समेत द्विपक्षीय संवाद र सहमतिबाट नै समस्या समाधान खोज्न सुझाएपछि हामीले अब नेपाल–भारत–चीनको त्रिदेशीय सीमाविन्दु लिम्पियाधुरा, कालापानी, लिपुलेक वा टिंकर भन्ज्याङ मध्य कुन हो भनी पहिल्याउनुपरेको छ । सुगौली सन्धिले काली नदीपूर्वको भूभाग नेपालको सम्प्रभुताभित्र पर्ने तथ्य निश्चित गरे पनि ५ अक्टोबर १९६१ मा राजा महेन्द्र र चीनका राष्ट्रपति ल्यु साउचीबीच हस्ताक्षरित नेपाल–चीन सीमा सन्धिले पश्चिमदेखि पूर्वसम्म कहाँबाट कहाँसम्म दुई देशको सीमा रेखांकन गरेको प्रस्ट्याएको छ । त्योभन्दा वरपर नेपालको उत्तरी सीमा तन्किने/खुम्चिने विषयमा दुईमत राख्न सकिँदैन ।
नेपाल–चीन सीमा सन्धि (५ अक्टोबर १९६१) को धारा १ को उपधारा १ अनुसार चिनियाँ र नेपाली सीमारेखा कालीनदी र टिंकर नदीको पानीढलो तथा माप्चु (कर्णाली) नदीका शाखा नदीहरू एवं टिंकर र सेतीनदी मिसिएको दोभान (?) बाट सुरु भई हिमशृंखलायुक्त ल्युमाचिसा (लिपुधुरा) र टिंकर लिपु (लिपुधुरा) भन्ज्याङ हुँदै पेहली (उरै) भन्ज्याङतिर अंकित गरिएको छ । यस अनुसार सुदूर पश्चिमोत्तरमा नेपाल–चीन सीमाको अन्तिम विन्दु लिम्पियाधुरा नभई सन्धिमा उल्लिखित लिपुधुरा अथवा लिपुलेक रहेको पुष्टि हुन्छ । चलनचल्तीका नेपालको आधिकारिक राजनीतिक नक्सामा यही देखिन्छ । नेपाल–चीन बीचको सीमा सन्धिले नेपाल–भारत–चीनको त्रिदेशीय सीमाविन्दु भनेर लिम्पियाधुरालाई अंकित गरेको पाइँदैन । यस सन्दर्भमा नेपालले बुझ्नुपर्ने एउटा अकाट्य तथ्य के हो भने, ब्रिटिस उपनिवेशकालीन भारतीय उपमहाद्वीपको उत्तरी सीमा सुदूर पश्चिमोत्तर क्षेत्रमा दक्षिणतिर विस्तारित हुँदै गरेको रूसी जारशाही रोक्न अफगानिस्तानमा वाखान करिडोरले छुट्याएको पामिर पठारदेखि पूर्वमा वर्मा (म्यानमार) को सीमा क्षेत्रसम्मको सिमाना अंग्रेज शासकहरूकै तजबिजमा रेखाङ्कन हुँदै फेरिँदै आफ्नो उपनिवेशको सुरक्षा हेतु गरिएको थियो । त्यसबेलाका चिनियाँ शासकहरूले ब्रिटिस सीमांकनलाई मान्यता नदिनुले नै अहिले भारत–चीन सीमा विवाद यथावत् छ । त्यसैले लिम्पियाधुरासम्मको ऐतिहासिक दाबीलाई ब्रिटिस इन्डियाको ‘फ्रन्टियर पलिसी’ र नेपाल–चीन सीमा सन्धिको परिप्रेक्ष्यमा हेर्न उचित हुनेछ ।
कालापानी विवादको सन्दर्भमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भनाइ स्मरणीय हुन्छ । सन् १८५० र १८५६ मा सर्भे अफ इन्डियाले प्रकाशित गरेको नक्सा अनुसार कालापानी प्रत्यक्षतः नेपालको सीमा क्षेत्रभित्र पर्छ । कोइरालाले ९ जून १९९८ मा विवादित कालापानी क्षेत्रमा आफ्नो हकदाबी घोषणा गर्दै उपलब्ध सबै ऐतिहासिक दस्तावेज, प्रमाण तथा तथ्यहरूको गहन अध्ययन गरी विवाद समाधान गर्न सुझाएका थिए । उक्त अध्ययन र तथ्यहरूले कालापानी क्षेत्र नेपालभित्र पर्छ भनी प्रमाणित गरेमा भारतले त्यो भूभाग छोड्नु (सेना फिर्ता गर्नु) पर्छ भनी स्पष्ट गरेका थिए । यसै सन्दर्भमा तत्कालीन प्रधानमन्त्री कार्यालयले कालापानीमाथि नेपालको दाबी दोहोर्‍याउँदै लिपुलेकबाट दक्षिणतिर बगेका नदीलाई महाकाली नदी स्विकार्ने सरकारको आधिकारिक दृष्टिकोण सार्वजनिक गरेको थियो । यस मानेमा लिपुलेक नै नेपाल–भारत–चीनको त्रिदेशीय सीमाविन्दु हुने नेपालको ठहर छ । तर भारतको विग्रहको कारण त्रिदेशीय सीमाविन्दु नै कहाँ रेखांकन हुनसकेको छ र ? (बुद्धिनारायण श्रेष्ठ, नेपालको सिमाना, २०५७) ।
त्यसैले पनि हुनसक्छ, नेपालको यही ठहरलाई समेत सन् २०१५ मा लिपुलेक भन्ज्याङबाट आवागमन साथै व्यापार प्रबर्द्धन गर्न भारत–चीनको संयुक्त वक्तव्यले लतारेको छ । दुवै मित्रराष्ट्रले त्रिदेशीय भूभाग जोडिने स्थल नेपालको सहमतिविना नै द्विपक्षीय सुविधाअनुकूल प्रयोग गर्ने निर्णय गरेका छन् । यसले गर्दा नेपालको लिपुलेकमाथिको हकदाबी समेत शंकाको घेरामा परेको छ । यस कुटिलतम कार्यविरुद्ध नेपालले दुवै मित्रराष्ट्रका सरकारलाई विरोधपत्र बुझाई आफ्नो असन्तुष्टि जनाएको छ । यसका साथै अर्का प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित टेलिफोन वार्तामा यो प्रसंग उठाएको र गम्भीर आपत्ति जनाएको जानकारहरूले सुनाएका छन् । विडम्बना के भने, यदि लिपुलेक त्रिदेशीय सीमाविन्दु नरहने अवस्था आएमा त्यहाँबाट दक्षिण बग्ने महाकाली नदीपूर्वमा अवस्थित कालापानीमा नेपालले चियाउने प्रश्न नै रहनेछैन ।
अहिले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कालापानीका सन्दर्भमा बाटोमा अशोभनीय तवरले उफ्रिनुको कारण आफ्ना दलका अग्रज नेताहरूका साथै आफैंले सरकार चलाउँदा उक्त भूभागबारे लिएको अडान नै सरकारको आफ्नै दाबी अनुसार पनि लिम्पियाधुरालाई नेपाल–भारत–चीनको आधिकारिक त्रिदेशीय सीमाविन्दु भन्ने स्थितिमा हामी छैनौं । जबकि कालापानी क्षेत्रमै भारतीय सैन्य उपस्थिति स्थायी भइसकेको छ र लिपुलेकसम्म सैनिक तथा व्यावसायिक प्रयोजनका लागि सडक निर्माण गर्न भारत सरकार लागेको छ । नेपालले त्यसको प्रतिवादसितै निर्माण कार्य रोक्ने प्रयास थालेको छैन । सन् २०१७ मा भुटानले दाबी गरेको भूभाग डोकलाङमा सडक विस्तार गर्न चीनले सेना खटाउँदा भारतीय सेनाले भुटानको पक्षमा प्रतिवाद गर्दै रोकेको थियो । सैनिक तनाव ७२ दिनसम्म लम्बिएपछि कूटनीतिक संवादद्वारा स्थिति सुधारिएको थियो । भारतसित त्यसरी नै टक्कर लिनु नेपालको लागि अनुकरणीय हुँदैन । तैपनि भारतकै उदाहरण लिएर साँधसीमाको संवेदनशीलता र त्यसप्रतिको सचेतताबारे अवगत हुनुको महत्ता हुन्छ । जस्तै– भारतले राष्ट्रिय स्वाभिमान र सम्प्रभुताको जगेर्ना गर्न कश्मीरको सियाचिन हिमनदी जस्तो अति विकट तथा निर्जन क्षेत्रमा समेत पाकिस्तानविरुद्ध सेना तैनाथ गरेको छ, जहाँ शत्रुपक्षको गोलीले मारिनुभन्दा हिउँले हातखुट्टाका औंला खाएर अपांग हुने सेनाको संख्या नै बढी छ । हामीकहाँ भने नेपाल–चीन सीमा सन्धिले नै उत्तरी भेगको २० किलो मिटर क्षेत्र वारिपारि दुवै पक्षको सेना तैनाथीमा बन्देज लगाएको छ । तर भारतीय सेना भने नेपालभित्रै पसेको छ ।
निजामती कर्मचारीसहित प्रहरीको समेत जिल्लाका सदरमुकाम बाहेक अन्य क्षेत्रहरूमा न्यूनतम उपस्थिति हुनाले नेपालीहरू आफ्नै भूभागबाटै लखेटिएका छन् । कालापानी विवादले हाम्रा सीमावर्ती क्षेत्र असुरक्षित हुनुको कारणले पनि सीमा सुरक्षाको जिम्मेवारी वहन गरेका सशस्त्र प्रहरीबलको संख्यात्मक कमीले गर्दा छुट्टै सीमा सुरक्षाबल गठन गर्न पनि सुझाइएको छ । ‘जनयुद्ध’ ताका सेनाले सघाएन भनेर सशस्त्र प्रहरीबल गठन गरिनु र अहिले बन्दुक बोक्ने सेनालाई साभेल बोकाउनुपरेकोले सीमा सुरक्षाबल गठन गरेर सीमा सुरक्षा समस्या समाधान गर्न खोज्दा नेपालमा सुरक्षाकर्मीहरूको गुणात्मकभन्दा संख्यात्मक वृद्धि राष्ट्रको निम्ति अनपेक्षित बोझ हुने त होइन भनी सोच्नुपर्छ । साथै कुल जनसंख्याको अनुपातमा विभिन्न थरीका सुरक्षा निकायहरूको गठन, तिनका तुलनात्मक संख्या र तिनीहरूप्रति सरकारको बढ्दो निर्भरता लोकतन्त्रको निम्ति कतै अप्रासंगिक हुने त होइन ? नेपालको राज्य संयन्त्रमा सेनाको विशेष भूमिका छ, जुन अरू कुनै निकायबाट निर्वाह हुन सक्दैन । तर सेना समस्याको समाधान होइन ।
प्रशासनिक तथा प्राविधिक स्तरमा गरिने वार्ता समस्याको चुरो पहिल्याउन निकै सहयोगी हुन्छ । वार्ताको क्रममा उठ्ने मुद्दा केस्रा–केस्रा गरी केलाउन सकिन्छ । सचिव स्तरमा गरिने वार्ता निर्णायक हुन नसके पनि राजनीतिक तहमा समझदारीको निम्ति लैजानुअघि प्रशासनिक तहमा हुने वार्ताको महत्ता बिर्सनु हुँदैन । कूटनीतिक संयन्त्रको भरपर्दो प्रयोगद्वारा अर्को पक्षलाई कमसेकम ‘इङ्गेज’ गरिराख्न यसको उपयोगिता हुन्छ । भारतीय प्रधानमन्त्री मोदीले २०१४ मा कालापानी तथा सुस्ता क्षेत्र विवादित रहेको तथ्य स्विकारी सचिवस्तरीय संयन्त्रद्वारा समाधान गर्ने सहमति जनाएका थिए । पाँच वर्षअघि गरिएको यो द्विपक्षीय निर्णय अझै ओथारो बसेको छ । सीमा समस्या समाधान वार्ताद्वारा नै गरिनुपर्ने सबैको आग्रह छ । तर वार्ता कहिले ? नेपालको वार्ताको पहल भारतको अभिरुचिमा भर पर्छ । किनभने भारतलाई वार्ताको टेबलमा बस्न बाध्य गर्न कूटनीतिक आग्रहभन्दा नेपालसित अरू कुनै उपाय छैन ।
प्रधानमन्त्री ओलीले कालापानी मुद्दामा राष्ट्रिय सहमति बटुलेका छन् । तर उनी अस्वस्थ छन् । ५ महिनादेखि देशभित्र र बाहिर चिकित्सकहरूकै स्याहारमा बसेका छन् । मुलुकले उनको राजनीतिक सक्रियतालाई पर्खेको छ । किनभने नेपाल संस्थागतभन्दा व्यक्तिगत निर्णय र निर्देशनबाट चल्ने मुलुक हो,  जहाँ राज्यका शिखर व्यक्तिकै हैकम चल्छ । व्यक्ति, शक्ति र नीति (पर्सनालिटी, पावर एन्ड पोलिसी) को तादात्म्य सरकार र पार्टीमा ओलीको बोलीले बुझाउँछ । त्यसैले ओलीको स्वास्थ्यस्थितिले राज्यव्यवस्थाको संयन्त्र नै प्रभावित हुनु अनौठो होइन । कूटनीतिक पहलसितै उच्च राजनीतिक स्तरमा मुद्दा नउठाएसम्म कालापानीमा हामीले आफ्नो सम्प्रभुताको दाबीसमेत गर्न सक्नेछैनौं ।

 

Page 9
दृष्टिकोण

लघुवित्त सुध्रिन जरुरी

- डा. प्रकाशकुमार श्रेष्ठ

 

वित्तीय उदारीकरणको नीति अनुरूप लघुवित्त क्षेत्र खुला गरिएपछि निजी क्षेत्रबाट सबैभन्दा पहिले २०५६ साउनदेखि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सञ्चालनमा आयो । २०७६ असारसम्म त्यस्ता संस्थाको संख्या ९० पुगेको छ, तीमध्ये चार वटाले थोक कर्जा प्रदान गर्ने गर्छन् । यिनको संख्या वृद्धिसँगै शाखा विस्तार पनि उल्लेख्य छ । ७७ वटै जिल्लामा यिनको उपस्थिति छ । २०७६ असोजसम्म यस्ता शाखाको संख्या ३,७१३ पुगिसकेको छ । २०७६ असारसम्म सदस्य संख्या ४३ लाख ३१ हजार पुगेको छ भने, ऋणी ग्राहक २६ लाख ८१ हजार जना छन् । थोक कर्जा प्रदान गर्ने चार वटा लघुवित्त वित्तीय संस्थाको कारोबारसमेत समावेश गर्दा यिनले २०७६ असार मसान्तसम्म ११ खर्ब ८ अर्ब रुपैयाँ कर्जा वितरण गरेका छन् भने, लगानीमा रहेको ऋण रकम २ खर्ब ३५ अर्ब छ । उक्त ऋण रकमको करिब ३९ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको छ । साथै ऋणको १४ प्रतिशत अंश धितो कर्जाका रूपमा छ । यसरी अधिकांश कर्जा समूह जमानतमा धितोबिना नै दिइएको छ ।
लघुवित्त क्षेत्रमा निजी क्षेत्रको यस्तो सहभागितालाई सकारात्मक रूपमा लिनुपर्छ । लघुवित्तको उल्लेख्य विस्तारले वित्तीय पहुँच र वित्तीय समावेशिता प्रवर्द्धन गर्न सहयोग पुगेको छ । यसले गरिबी निवारणमा पनि धेरै हदसम्म सहयोग गरेको छ । नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्याको हिस्सा घट्दै जानुमा यस्ता संस्थाको योगदान पनि पक्कै छ ।
उत्साहजनक विस्तारसंँगै लघुवित्तमा केही विकृति देखा परेका छन्, जसलाई सुधार्नुपर्ने खाँचो छ । गरिबी निवारणमा सहयोग पुर्‍याउने गरी सामाजिक व्यवसाय गर्नुपर्ने लघुवित्त क्षेत्रले अत्यधिक नाफामुखी हुन मिल्दैन । गरिबसँंग वित्तीय कारोबार गरेर असामान्य नाफा कमाउन सफल हुने देखेरै धेरै लगानीकर्ता यता आकर्षित भएका हुन् । संस्थाविशेषको दिगोपनाका लागि नाफा आवश्यक भए पनि त्यसको सीमा हुन्छ भन्ने यथार्थ सञ्चालकहरूले बिर्सन हुन्न ।
लघुवित्त वित्तीय संस्थाहरू खास गरी सहरी र अर्धसहरी क्षेत्रमा बढी केन्द्रित छन् । अझै करिब १९५ पालिकामा तिनका शाखा पुग्न सकेका छैनन् । क्षेत्रविशेषमा चाहिँ बहुबैंकिङको समस्या छ । एउटा संस्थाको ऋण तिर्न अर्कोबाट ऋण लिने प्रवृत्ति झाँगिएको छ । यसले तत्काललाई खराब कर्जाको अनुपात कम राख्न सहयोग गरे पनि ऋणग्रस्तता बढ्दै जाँदा खराब कर्जाको अनुपात बढ्ने देखिन्छ । कर्जा सूचना लिएर मात्र लघुवित्त संस्थाहरूले लगानी गर्नुपर्छ ।
शाखा र संख्या विस्तारसँंगै लघुवित्त बुझेको जनशक्तिको अभाव हुँदै गएको छ । कर्मचारी फेरबदल भइरहने प्रवृत्ति पनि बढेको छ । फलस्वरूप, कर्मचारी व्यवस्थापन जटिल हुँदै गएको छ । कतिपय संस्था बढी नाफामुखी हुँदा कर्मचारीहरूलाई यथोचित तलब
दिन र पर्याप्त कर्मचारी राख्न हिचकिचाउने गरेका छन् । उत्पादनमुखी लगानीभन्दा उपभोगमुखी कर्जाको
बढ्दो हिस्सा, ग्राहकहरूको अनुगमन र मूल्यांकनमा कमी–कमजोरी, नियामक निकायका नियमविपरीत विभिन्न शुल्क लिने प्रवृत्ति पनि देखिएको छ । धेरै संस्थामा लघुवित्तको सिद्धान्त, भावना र मर्मको बुझाइ पनि कमै पाइन्छ । धेरैको सोच जसरी पनि नाफा आर्जन गर्ने भन्ने नै छ ।
लघुवित्त संस्थाहरूको संख्या बढेसंँगै प्रतिस्पर्धा उच्च भएको छ । तर नवीनता र कुशलता बढ्न नसक्दा कतिपय नयाँ संस्थालाई कठिनाइ हुने देखिन्छ । विगतमा स्वच्छन्द ढंगले गैरसरकारी संस्थाका रूपमा सञ्चालित रहेका लघुवित्त संस्थाहरूले अहिले कम्पनी ऐनका रूपमा दर्ता हुनुपर्छ । राष्ट्र बैंकको नियमनको दायराभित्र बसेर पारदर्शी ढंगले लघुवित्त संस्था सञ्चालन गर्न केहीलाई गाह्रो भइरहेको बुझ्न
अप्ठ्यारो छैन ।
लघुवित्त संस्थाहरूले आफूकहाँ सदस्य हुन आएको विपन्न व्यक्तिलाई ५ वर्षदेखि १० वर्षभित्र गरिबीको दायराबाट माथि उकास्नुपर्ने हो, तर तिनले ग्राहकलाई आफूमै अल्झाइराख्ने रणनीति लिने गरेका छन् । यिनको काम कर्जा प्रवाह र ब्याज असुली मात्र होइन । न्यून आय भएका, त्यसमा पनि महिलाहरूलाई
समूह बनाएर साक्षरता, सीप र व्यावसायिक क्षमता प्रदान पनि गर्नुपर्छ । तर, अचेल यो मर्म अनुरूपको काममा कमी आउँदै गएको छ । व्यवस्थापनलाई नाफाको उच्च लक्ष्य दिने प्रवृत्ति
बढ्दा जसरी भए पनि ऋण प्रवाह बढाउने र जसरी भए पनि असुलीका उपाय अपनाउने शैली हावी भएको छ । यसले गर्दा समाजमा लघुवित्त वित्तीय संस्थाहरूप्रति नकारात्मक धारणा बढ्दै गएको छ ।
लघुवित्त वित्तीय संस्थाहरूको उल्लेख्य विस्तार भइसकेकाले अब यसको प्रवर्द्धनभन्दा सुदृढीकरणको समय आएको छ । यस क्षेत्रको स्थायित्व र कुशलता अभिवृद्धिका लागि सबै संस्था एकीकृत हुनुपर्ने देखिन्छ । कमजोरी हटाई, कार्यकुशलता बढाएर प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु र लघुवित्तको मर्म अनुरूप सामान्य नाफाको लक्ष्य मात्र लिनु न्यायसंगत हुन्छ ।

 

दृष्टिकोण

पुरुष देहमा त्यस्तो के छ 

- निभा शाह

 

जु न ज्ञान पुरुषले स्त्रीबारे हासिल गरेका छन्, त्यो अधुरो र अपुरो नै हुन्छ । तबसम्म, जन स्टुअर्ट मिलको भनाइमा, ‘जबसम्म स्त्रीले आफ्ना सम्पूर्ण अनुभूतिलाई खुलस्त लोकार्पण गर्दैर्नन् ।’
एक साँझ गाउँ डुलिरहँदा मैले एउटी कुकुर्नीको फाँचो सामान्यभन्दा ठूला देखेपछि नजिकै गएर नियालेंँ । फाँचोभरि घाउ रहेछन् । घाउले टन्किएको त्यही फाँचो छाउरा–छाउरीले चुसिरहेका ! यस्तो दर्दनाक दृश्य देखेपछि मैले कुकुर्नीलाई सम्बन्धित मालिक्नी बज्यैको सहयोगमा छाउरा–छाउरीबाट छुटाइदिएँ र बज्यैलाई भनें, ‘ओ बज्यै, तुम्रो त लैनो भैंसो छँदाइ छाउरा–छाउरी छुट्टै राख्या हो ।’ अनि औषधि मगाएर दूधफाँचाभरि लगाइदिँदै गर्दा मलाई त्यो कुकुर्नीको यति माया लाग्यो, सजल आँखाले बज्यैलाई भनें, ‘बज्यै, डाँगा काँ छन् काँ ! यही कुकुर्नीकी आमा हुनुका दुःख !’ ती बज्यैले फ्याट्टै भनिन्, ‘तुलाई क्या लाग्दो छ, बैकिनी (आइमाई) का केटाकेटी क्या पिरिमले पाएका हुन् ? कात्तिकका डाँगाले लखेटे जसरी पाएका हुन् । यी डाँगा न छाउपडी छोड्छन्, न सुत्केरी छोड्छन् !’ म त बज्यैको अनुहार हेरेकी हेर्‍यै भएँ । आखिर यो पुरुष देह हो नै के ? स्त्री देहबाट जन्मिएको अर्को देह मात्र न हो !
प्रकृतिले सृष्टिधारण, प्रजनन र पालनका लागि स्त्रीलाई पुरुषभन्दा तीन अंगले भिन्न बनाएको छ । ती अंग हुन्— स्तन, गर्भाशय र रजस्वला हुने स्थान । यीबाहेक स्त्री–पुरुष देहबीच देखिने तात्त्विक भिन्नता प्रायः हुँदैन । यो स्वाभाविक र प्राकृतिक पनि हो । किनकि स्त्री–पुरुष देह सालनालले जोडिएको हुन्छ, जसको जोडानबाट जन्मिएको पुरुष स्त्री देहको अर्को देह मात्र हो, जसरी स्त्री पनि स्त्री देहबाट जन्मिएको अर्को देह हो ।
एक स्त्रीले अर्को देह (छोराछोरी) जन्माउने प्रक्रियामा थुप्रै अनुभूति बटुल्दै जान्छे । रजस्वला, गर्भाधान, सालनाल र प्रसव पीडा । अनि मात्र बच्चाले यो धरतीमा पाइला टेक्ने हो । यति धेरै दैहिक अनुभूतिबाट जन्मिएको पुरुष देहले कसरी स्त्री देहलाई बलात्कार गर्न सक्छ ? त्यो पनि त मान्छेको जातै हो !
ती बज्यैको आर्तनादले मेरो मथिंगलमा छाल हान्दै गयो । गम्दै गएँ— हामीमध्ये धेरै वैवाहिक संस्थाका नाममा जन्मिएका बलात्कृत सन्तान त हैनौं ? केही कुजात बिनाअनुमति कसरी अरूको देह छुन सक्छन् ? कसरी बलात्कार गर्न सक्छन् ? कसरी ब्ल्याकमेल गर्न सक्छन् ? कसरी भ्रष्टाचारको अघोषित प्रतिनिधित्व गर्दै सिद्धान्तद्रोह, राष्ट्रद्रोह गरेर जनताका सपनाहरूको हत्या गरिदिन सक्छन् ? बडेमानका तक्मा भिरेर भुइँमान्छेका कुरा गरिरहने, मिडियामा छाइरहने कोही कसरी भुइँमान्छेका मुद्दाहरूलाई कुल्चिँदै बडेमानका तस्कर, भ्रष्टाचारी, बलात्कारी, अपहरणकारीका मुद्दा लड्न सक्छन् ? कसरी स्त्री देहलाई ‘सहजताभित्रको अराजकता’ भन्दै कथित जुडासवादी लाल दर्शन दिन सक्छन्, कथित लाल राजकुमारहरू ? यस्तै कुजातहरूका अनुहार देखेर होला, एक उर्दु शायरले लेखेका छन्— ‘मेरे चेहरे को मेरी तबियत ना समझ/ मैं वही चेहरा दिखाता हूँ जो मैं चाहता हूँ ।’
चेली बुबा तेरो किलो खोजन्ना
तु तेई किला बाँधिजा
कि त चेली तु साईबाज भै उडिजा ।
चेली बुबा तेरो खुडी (पिँजडा) खोजन्ना
तु तेई खुडी थुनिजा
कि त चेली तु साईबाज भै उडिजा ।
अर्थात्, चेली तिम्रा बुबाले तिम्रा लागि किला खोज्नेछन् । कि त तिमी त्यो किलामा बाँधिनू । कि त तिमी प्रेमको बाज (साईबाज) भएर उड्नू । चेली तिम्रा बुबाले तिम्रा
लागि पिँजडा खोज्नेछन् । कि त तिमी त्यो पिँजडामा थुनिनू । कि त तिमी प्रेमको बाज भएर उड्नू ।
यो स्त्री किलो प्रथाको गीत हाम्रा पुर्खाहरूले बेबिलोनबाट बोक्दै सिंजा प्रदेशमा ल्याएका हुन् । यद्यपि यो गीत अझै सिंजा प्रदेशतिर गाइन्छ । यो स्त्रीवादी गीत लामो छ, जसमा प्राचीन समाजमा कसरी केही पुरुषले स्त्रीहरूलाई वैवाहिक संस्थामा आबद्ध गराउन किलामा बाँधे भन्ने वर्णन छ ।
यता रामायण हेर्‍यो त्यस्तै ! रामायणमा एकातिर सीतालाई रावणले अपहरण गर्छन्, अर्कातिर रामले सीताको अग्निपरीक्षा भन्दै योनि परीक्षा लिन्छन् । त्यतिले धीत मर्दैन र गर्भिणी सीतालाई वनवास धपाउँछन् । उता महाभारतमा एकातिर पाण्डवहरू द्रौपदीलाई जुवामा थाप्छन्, अर्कातिर कौरवहरू द्रौपदीलाई जगल्ट्याउँदै चीरहरण गर्छन् । यता बाइबल (ओल्ड टेस्टामेन्ट) हेर्दा, परमेश्वर हुँ भन्ने ईश्वरले हबालाई ‘तँ श्राप होस्’ भन्छन् । यता आफू बाँच्दै गरेको एक्काइसौं शताब्दीको समाज हेर्‍यो, चौपटै छ । यता हेर्‍यो बलात्कार, उता हेर्‍यो गर्भपात, दहेज हत्या, एसिड हत्या, स्त्री देहको लुछाचुँडी, किनबेच ! पूराका पूरा बजार चलेको छ ! मानौं स्त्री देह गुलाबी मैलो चोलो हो । यो कथित गुलाबी मैलो चोलोलाई दासयुग, सामन्तवाद, पुँजीवादले मात्र मचमची मिचेर, मडमडी माडेर रामधुलाइ गर्दै माडोदेवी बनाएको छैन कि ? यो कथित गुलाबी मैलो चोलोलाई जुडासे लाल हातहरूले पनि मडमडी माडेका छन् ।
जनयुद्धकालमा एक कमरेडले एकान्तमा किताब पढिरहेकी अर्की कमरेडको संवेदनशील अंगलाई मैलो चोलो ठान्दै मडमडी माडेर ‘यो सहजताभित्रको अराजकता हो’ भन्दै हिँडेछन् । पीडित कमरेडले पार्टीभित्र यौन हिंसाको कुरा राखेपछि पीडक कमरेडले त्यही जुडासवादी लाल दर्शन छाँटेछन्, ‘यो त सहजताभित्रको अराजकता हो !’ यद्यपि ती पीडक कमरेड त्यति बेला पार्टी क्रियाकलापमा भाग लिन नपाउने गरी केही महिना सांस्कृतिक कारबाहीमा परे । त्यति पनि हुन्नथ्यो होला, किनकि ती पीडक कमरेड तत्कालीन हेडक्वार्टरका प्यारा थिएÙ पीडित कमरेडका श्रीमान् त्यति बेला शहीद भएकाले दबाब थेग्न नसकी पीडकलाई सामान्य कारबाही गरिएको थियो । साराका सारा कार्यकर्ताको वैचारिक एवं भावनात्मक लगाव पीडित कमरेडप्रति थियो । नत्र विद्रोह हुन सक्ने डरले प्रचण्ड लगायत बडेमानका ‘जी’ हरूले ती पीडक कमरेडलाई कारबाही गरेजस्तो गरेका थिए । कारबाही यस्तो थियो, मानौं अध्ययन बिदा दिएका हुन् । उसै पनि पार्टीभित्र उपल्लाहरूलाई सांस्कृतिक कारबाही हुँदा कार्यकर्ताहरू अध्ययन बिदा नै भन्ने गर्छन् !
पार्टीका उपल्लाहरूले महिला मुक्तिको मुद्दालाई साँचो अर्थमा बोकेका भए, ती कमरेडमाथि भएको यौन हिंसाको पारितोषिकस्वरूप ती पीडकलाई अहिलेसम्म मन्त्रीपिच्छे मन्त्री पदले किन पुरस्कृत गर्थे ! के यो महिला हिंसा गरेबापत ‘पिलिंग’ (पितृसत्ता बोक्ने लिंग, स्त्री होऊन् या पुरुष) हरूद्वारा दिइएको पुरस्कार हैन र ? ‘पिलिंग’ ज्यूहरू, यौन हिंसामा पुरस्कार हुन्छ कि कानुन बमोजिम सजाय ?
हामीले के बिर्सन हुन्न भने, (क) लालपुर्जाले जन्माएको सत्ताभित्र दुई वर्ग छन्— धनी र गरिब । यी दुवै वर्गभित्र यौन हिंसा, उत्पीडन, दमन र बलात्कारका घटनाहरू अक्सर भइरहन्छन् । यद्यपि सर्वाधिक घटना पर्दाभित्रै लुक्छन् । (ख) समाजले विभिन्न जातजाति, धर्म, संस्कृति समेटेको छ । यी सबैभित्र पनि यौन हिंसा, उत्पीडन र बलात्कारका घटना भैरहन्छन् । (ग) राजनीतिक रूपमा देश कम्युनिस्ट, कांग्रेस र अन्य वादमा हिँडेको छ, जहाँ पनि महिला हिंसा र उत्पीडन छ ।
मार्क्सवाद पढ्दै जाँदा सिकिने, बुझिने र देखिने कुरो हो— सत्ताले बलात्कार गर्छÙ यौन हिंसा गर्छ । जेजति दमन, उत्पीडन, कब्जा र स्वामित्वहरू छन्, ती सबै लालपुर्जाधारी सत्ताका कारण छन् । यद्यपि सोभियत सत्ताभित्र महिला हिंसा न्यून भएको हो, निर्मूल होइन । यी सब हुनुको कारण केलाउँदै जाँदा जिज्ञासा उत्पन्न भएको छ— पुरुष देहभित्र त्यस्तो के जिन छ, जसले यौन हिंसा गर्छ ? आफू स्त्री देह भएकाले म पुरुष देहको अनुभूति व्यक्त गर्न सक्दिनँ । कृपया, पुरुष देहधारीहरूले आफ्ना अनुभूति साझा गर्नुहोला !

दृष्टिकोण

के हो डलरवादी ?

हुलाकी
- उज्ज्वल प्रसाईं

 

विशेषणका रूपमा ‘डलरवादी’ शब्दको प्रयोग अधिक हुन थालेको छ । सामाजिक भनिने विद्युतीय सञ्जालमा खोजे यो विशेषण कसले, केका लागि र कसका विरुद्ध प्रयोग गर्छन् भन्ने थाहा हुन्छ । राजनीतिक दलका नेता, बुद्धिजीवी, नेताका वैतनिक एवं अवैतनिक समर्थकदेखि विद्युतीय सञ्जालमा समय कटनी गरेर बस्नेका लागि ‘डलरवादी’ प्रिय शब्द भएको छ । खास गरी विदेशी मुद्राको प्रभावमा बोल्ने वा लेख्ने काम गरेको भनेर कसैलाई लाञ्छना लगाउनका लागि यो शब्दको प्रयोग गर्ने चलन छ । समाज विज्ञानमा प्रयोग हुने अन्य धेरै ‘वाद’ को जसरी व्याख्या गरिन्छ, ‘डलरवाद’ को त्यस्तो सैद्धान्तिक व्याख्या भने सुनिएको छैन ।
करिब पाँच वर्षअघि नेपाली छापामा ‘हिमाल साउथ एसिया’ पत्रिका प्रकाशन गर्ने साउथ एसिया ट्रस्ट विवादमा तानियो । तत्कालीन माओवादीले ट्रस्टले नर्वेजियन दूतावासको सहयोगमा पत्रिका प्रकाशन गरेको विषय संसदमा उठायो । विदेशी सहयोगमा सञ्चार माध्यम सञ्चालन गर्न नहुने एवं त्यसो गरेर नेपालमा द्वन्द्व चर्काउने षड्यन्त्र भएको जिकिर माओवादी पक्षको थियो । तिनताक सत्यनिरूपण तथा मेलमिलाप आयोग बनाउने र त्यसमार्फत द्वन्द्वका बाँकी मुद्दा सम्बोधन गर्ने कामबारे छलफल चलिरहेको थियो । अहिलेसम्म नसुल्झिएको सो विषय त्यस बेला झन् बढी पेचिलो थियो । त्यही सिलसिलामा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले समेत साउथ एसिया ट्रस्टसम्बद्ध पत्रकार एवं बुद्धिजीवीलाई इंगित गर्दै ‘डलरवादी’ विशेषणको प्रयोग गरेका थिए ।
माओवादी मात्रले उच्चारण गर्दा ‘डलरवादी’ ले व्यापकता पाएको थिएन, तर कांग्रेस नेताले समेत अनपेक्षित रूपमा त्यसैको सिको गर्दै द्वन्द्वका मुद्दालाई धेरै नउछाल्न चेतावनी दिएपछि सो शब्द लोकप्रिय बन्यो । गालीस्वरूप सो शब्दको प्रयोग बढेपछि तिनताक ‘नेपाल’ साप्ताहिकको आफ्नो स्तम्भमा मैले डलरवादको सैद्धान्तिक व्याख्या गर्नुपर्ने आवश्यकता औंल्याएको थिएँ । २०१४ को मेमा प्रकाशित सो लेखको एउटा पंक्ति उद्धृत गर्नु सान्दर्भिक हुन्छ— ‘डलर ल्याएर गरिएका सबै काम खराब छैनन् । सबै मानिस डलरवादमा फसेका पनि छैनन् । त्यसैले पनि डलरवादको सैद्धान्तिक परख गर्नुपर्ने आवश्यकता छ । ताकि ठोस काम गरेर योगदान पुर्‍याएका संस्था, मानिस र दाताहरू डलरवादमा लेश मात्र पनि छैनन् भनेर देखाउन मिलोस् ।’
मार्क्सवादी अर्थशास्त्र जस्ता सैद्धान्तिक विमर्शमा अत्यन्त ठूलो चाख राखेर मोटा किताबसम्म लेखिसकेका बुद्धिजीवीबाट यस्ता सैद्धान्तिक व्याख्याको अपेक्षा गर्न सकिन्थ्यो । सामान्य फरक मतसम्म पचाउन नसक्ने बनिसकेका दलीय बुद्धिजीवीले डलरवाद जस्तो शब्दलाई अत्यन्त हलुका ढंगले प्रयोग गर्ने प्रवृत्ति भने सामान्य बन्यो । नेकपासम्बद्ध अर्थशास्त्री डा. विजय पौडेलले फरक मत राख्नेलाई निषेध गर्ने मनसुबा राखेर ‘डलरवादी महिला’ जस्ता शब्दावलीको प्रयोग गरे । महिला खेलाडी कुनै खेलमा विजयी बनेको विषय समाचार वा फिचर बनाउँदा नेपाली पत्रकारले ती खेलाडीलाई सामान्य खेलाडी नभनी ‘नेपाली चेली’ भनेर चिनाउने गरेकोबारे ट्वीटरमा विमर्श चलिरहेको थियो । सँगैमा पुरुष खेलाडी सफल हुँदा ‘नेपाली ठिटो’ जस्ता शब्दावलीको प्रयोग गरिँदैन, ‘नेपाली खेलाडी’ मात्र भनिन्छ । केहीले गम्भीरतापूर्वक र केहीले हलुका
ठट्यौलो बनाएर यी विषयमा धारणा राखिरहेका थिए । ‘चेली’ जस्ता शब्दको प्रयोगमा लैंगिक असमानता एवं पितृसत्तावादको प्रभाव देखिने तर्क गरिएको थियो । सो शब्दको प्रयोगले ‘पेट्रोनाइज’ गरेको अर्थात् कृपाभाव राखेको बुझाइ व्यक्त गर्ने धारणा राख्नेहरूमा लेखक, पत्रकार एवं बुद्धिजीवीहरू थिए । खेलाडीलाई खेलाडी भनेर चिनाउँदा उनीहरूको सम्मान हुने मत जाहेर गरिएको थियो ।
छापामा ‘चेली’ शब्दको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने मत राख्ने महिलाहरूलाई इंगित गर्दै डा. पौडेलले ट्वीटरमै टिप्पणी गरे, ‘कुन दिन यी डलरवादी महिलाहरूले आमा शब्दले महिलाहरूको अपमान गर्‍यो, यसको साटो मम्मी वा मम मात्र भन्नुपर्छ भन्नेछन् । यिनीहरू असल नेपाली संस्कार सिद्ध्याउन लागेका छन् । सावधान, यी नेपाली भेषका विदेशी दलालबाट Û’ शब्दको चयन र प्रयोग सधैं बहसयोग्य विषय हो । आमवृत्तमा लेख्ने र बोल्ने मानिसले प्रयोग गर्ने शब्दबारे विमर्श हुनु स्वागतयोग्य काम हो । हिजो सहजतापूर्वक प्रयोग गरिने खास शब्दबाट एउटा ठूलो समुदायले आफू हेपिएको महसुस भएको बताएपछि, आज सम्मानपूर्वक ‘मधेसी’ भन्न थालिएको छ । बहसको यस्ता पक्षलाई पूर्णतया अनदेखा गरेर विमर्शमा सहभागी भएका सबैलाई एकमुस्ट गाली गर्न उद्यत हुने डा. पौडेलको ट्वीटमार्फत उनकै असंवेदनशीलता छताछुल्ल भएको छ । उनले सार्वजनिक विमर्शको कस्तो चरित्रलाई संवर्द्धन गर्न खोजेका छन् भन्ने पनि उजागर भएको छ ।
अर्को प्रश्न पनि उत्तिकै सान्दर्भिक छ । पौडेलले बुझेको डलरवाद के हो ? एउटा ट्वीटमा सबै आशय नखुले पनि सामान्य अन्दाज गर्न सकिन्छ । विदेशी सहयोग पाउने संघ–संस्थामा जागिर खाने वा त्यस्ता सहयोगका आडमा आफ्नै नेतृत्वमा कुनै संस्था चलाउने मानिसहरू डलरवादी हुने उनको आशय हो । त्यस्ता संस्थामा काम गर्ने मान्छेले नेपालका मौलिक भाषा, संस्कृति एवं रीतिरिवाजको सम्मान गर्दैनन् भनेर बुझेका छन् उनले । उनका अनुसार, त्यस्ता मान्छे मौलिक संस्कृति र भाषाको साटो विदेशी भाषा–संस्कृतिको संवर्द्धनमा काम गर्छन् । उनको बुझाइमा, त्यसो गरेबापत पनि उनीहरूले ‘डलर’ नै कमाउँछन् ।
पौडेलले आरोप लगाएकामध्ये एक लेखक आन्विका गिरी पनि हुन् । के पौडेलजस्ता विद्वान्ले आन्विकाहरूलाई पढेका छन् ? काफी सन्देह गर्ने ठाउँ रह्यो । नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा स्थापित नाम हो— आन्विका । उनको ‘कम्युनिष्ट’ शीर्षक कथासंग्रहमा समेटिएका सिर्जना पढेको जोकसैले भन्न सक्छ, आन्विका नेपाली भाषा र साहित्यलाई सम्मान गर्दै सो भाषाको विस्तार एवं विकासमा दत्तचित्त भएर लागिपरेकी स्रष्टा हुन् । सामाजिक एवं राजनीतिक रूपमा सचेत भएर साहित्य साधना गर्ने आन्विकाको ‘मान्छेको रंग’ उपन्यास
पढ्दा सशस्त्र द्वन्द्वको चपेटामा परेका युवा र सामान्य मानिसप्रति उनी कति संवेदनशील छन् भन्ने सहजै बुझिन्छ । त्यति मात्रै होइन, पछिल्लो समय उनले बालबालिकाका लागि नेपाली भाषामा साहित्य लेखेकी छन् । हाम्रा सन्तानलाई नेपाली भाषामार्फत जीवन र समाज चिनाउन, भाषाको महिमा र सामर्थ्य बुझाउन एवं तिनलाई असल मान्छेका रूपमा हुर्काउन सहयोग पुग्ने ती कृतिको महत्ता बुझ्न कतिको सक्षम छन् डा. पौडेल ? कम्तीमा, उनको यो
ट्वीटले त्यति सामर्थ्यको संकेत गर्दैन ।
तुलनै गर्ने हो भने सहजै भन्न सकिन्छ, नेपाली भाषा, साहित्य एवं चिन्तनका क्षेत्रमा डा. पौडेलभन्दा बढी योगदान गर्ने स्रष्टा हुन्— आन्विका । आफ्नो समृद्ध चेतनाकै आडमा उनले नेपाली छापालाई सचेत गराउन विद्युतीय सञ्जालको ‘चेली बहस’ मा सहभागी हुने जाँगर देखाएकी थिइन् । डा. पौडेलको असंवेदनशीलताले आन्विका गिरीहरूको असम्मान गरेको छ । पौडेल जस्ताका भद्दा गालीले एउटा जरुरी बहसलाई मोड्ने कोसिस मात्र गरेको छैन, जरुरी विमर्शमा उद्यत रहने आन्विका जस्ता सर्जकलाई निरुत्साहित गर्ने प्रयास पनि गरेको छ । आन्विकाहरूलाई निरुत्साहित गर्न पौडेलसँगै रामकुमारी झाँक्रीहरू पनि सहभागी हुनुलाई भयानक विडम्बना मान्नुपर्छ ।
डलरवादकै सवाल उठाउने हो भने, डा. पौडेलका लागि आफ्नै दल एवं आफ्नै कमरेडहरूतर्फ फर्कनु बढ्ता मनासिब हुन्छ । मजदुरको हकहितका नाममा दलीय संगठनमा असंख्य स्रोतबाट आएका वैदेशिक सहयोगको हिसाबकिताब कसले राखेको छ ? मानव अधिकार एवं भौतिक विकासका नाममा पौडेलसम्बद्ध दलनिकट मानिसले ल्याएका विदेशी मुद्राले उनीहरूको निजी सम्पत्तिमा कतिको वृद्धि गरेको छ ? तिनै मानिसहरू यो मुलुकको सबैभन्दा ठूलो ओहदामा बस्ने जनप्रतिनिधिलाई सल्लाह दिनेदेखि विकासका योजना बनाउनेसम्मका काममा खटिएका छन् । तिनैमध्येका कोही ठूला पश्चिमा मुलुकका राजदूत पदमा आसीन छन् । डा. पौडेललाई आफ्ना दलनिकट त्यस्ता मानिसदेखि कत्तिको भय छ ? आफ्नै कमरेडहरूबाट नेपाली राष्ट्रियता एवं मौलिक संस्कृतिमाथि हुन सक्ने प्रहारबारे कत्तिको हेक्का छ ?

Page 10
विदेश

‘तापक्रम वृद्धिले जोखिम बढ्यो’

- अब्दुल्लाह मियाँ

(म्याड्रिड, स्पेन) - विश्व मौसम संगठन (डब्लूएमओ) ले जलवायु परिवर्तनका कारण विश्वमा जलवायुजन्य जोखिम बढिरहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।
जोखिम न्यूनीकरणमा ध्यान नदिने हो भने आगामी वर्षहरूमा बाढी, पहिरो, आँधी, उच्च तापक्रम , समुद्र तात्ने, खाद्य संकट, खडेरी, तातो वायु र डढेलोमा वृद्धि हुने चेतावनीसमेत डब्लूएमओले दिएको छ ।
सम्मेलनमा एकवर्षे अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै डब्लूएमओका महासचिव पेट्टेरी तालासले अहिले नै एक्सन नलिने हो भने यो शताब्दीको अन्त्यसम्म विश्वमा ३ डिग्री सेल्सियसका दरले तापक्रम बढ्दै जाने चेतावनी दिए । ‘हामीले पेरिस सम्झौता कार्यान्वयनमा ढिलाइ गर्नु हुँदैन,’ उनले भने ।
सन् २०१५ (कोप–२१) मा फ्रान्सको पेरिसमा भएको सम्झौतालाई अहिलेसम्मकै उपलब्धिमूलक मानिन्छ । पेरिस सम्झौतामा
जलवायु परिवर्तनको जोखिम तथा असरलाई उल्लेखनीय रूपमा घटाउने विषयलाई आत्मसात् गर्दै विश्वव्यापी औसत
तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि २ डिग्री सेल्सियसभन्दा तल कायम राख्ने र तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि १.५ डिग्री सेल्सियसमा सीमित राख्न प्रयास गर्ने उल्लेख छ ।
यस्तै, खाद्य उत्पादनमा कमी हुन नदिने गरी जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई अनुकूलन गर्ने क्षमता अभिवृद्धि गर्ने र न्यून हरितगृह ग्यास उत्सर्जन तथा जलवायु समानुकूलनलाई प्रवर्द्धन गर्ने उल्लेख छ । सन् २०१८ मा ८ करोड २० लाख मानिसले भोकमरी व्यहोर्नुपरेको र सन् २०१९ को जनवरीदेखि जुनसम्म मात्र विश्वमा एक करोड मानिसको जनजीवन प्रत्यक्ष प्रभावित भएको समेत डब्लूएमओको प्रतिवेदनमा छ । दक्षिणपूर्वी अफ्रिकामा ७० लाख मानिस आँधीका कारण प्रभावित भएको र दक्षिण एसियासमेत ‘फानी’ आँधीको चपेटामा परेको प्रतिवेदनमा उल्लेख छ । नेपाल नगन्य मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकमा पर्छ । तर, जलवायु परिवर्तनको असर भोग्ने हिसाबले नेपाल चौथो स्थानमा पर्छ । नेपालले वार्षिक ०.००२७ प्रतिशतमात्र हरितगृह ग्यास उत्सर्जन गर्छ । हरितगृह ग्यास जलवायु परिवर्तनको मुख्य कारक हो ।
प्रदूषणको बढ्दो प्रभाव
डब्लूएमओले तापक्रम वृद्धिमा मुख्य भूमिका खेल्ने हरितगृह ग्यासको उत्सर्जनको मात्रा बढिरहेको उल्लेख गरेको छ । सबभन्दा बढी कार्बनडाईअक्साइडको मात्रा वायुमण्डलमा ४०७ पार्ट्स पर मिलियन (पीपीएम) पुगेको उल्लेख छ । मिथेन र नाइट्रस अक्साइडको मात्रा पनि बढेको छ ।
युरोपसहित अन्य भागमासमेत तापक्रम वृद्धिले नयाँ रेकर्ड राखेको छ । गत जुलाई र जुनमा फ्रान्समा ४६, जर्मनीमा ४२, नेदरल्यान्ड्समा ४०.७, बेल्जियममा ४१.८, लक्जेम्बर्गमा ४०.८ र बेलायतमा ३८.७ डिग्री तापक्रम रेकर्ड भएको थियो । यो विगतका वर्षमा भन्दा बढी हो । गत जनवरी अस्ट्रेलियामा सर्वाधिक तातो महिना सावित भयो । साधारणतया डढेलो नदेखिने मुलुकहरूमा समेत डढेलोका घटना हुन थालेका छन् । सधैंजसो चिसो हुने स्थानहरूमा समेत डढेलो लाग्न थालेको प्रतिवेदनमा छ । साइबेरिया र अलास्कामा समेत डढेलोका घटना भएका छन् । जबकि त्यहाँ डढेलोका घटना विरलै हुन्थे । इन्डोनेसिया, ब्राजिल र एमाजोनियामा डढेलोका घटना बढेका छन् । प्रतिवेदनमा ती देशहरूमा १० वर्षयता यस्ता घटनामा वृद्धि भइरहेको उल्लेख छ ।

विदेश

बिदा नपाउँदा ५ सहकर्मीको हत्या

- एजेन्सी

रायपुर, छत्तिसगढ, भारत – भारत छत्तिसगढको नक्सलवादी प्रभावित क्षेत्रमा एक जना सुरक्षाकर्मीले घर जाने बिदा नपाएको झोंकमा ५ सहकर्मीको हत्या गरेका छन् । इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) का सुरक्षा जवान मसुदुल रहमानले क्याम्पभित्रै अन्धाधुन्ध गोली प्रहार गर्दा ती सुरक्षाकर्मी मारिएको भारतीय समाचार संस्था ‘पीटीआई’ ले जनाएको छ ।
नारायणपुर जिल्लाको कडेनारस्थित आईटीबीपीको ४५ औं बटालियन (क्याम्प) मा कार्यरत रहमानले एक वर्षदेखि घर बिदा पाएका थिएनन् । क्याम्पमा कार्यरत सहकर्मीको हत्यापछि उनले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । घटनामा तीन सुरक्षाकर्मी घाइते भएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको बस्तरका आईजी सुन्दरराज पीले बताए । उनले भने, ‘क्याम्पमा जवान मसुदुल रहमानले एकाएक गोली प्रहार गर्न थाले । चार जवानको घटनास्थलमै मृत्यु भयो ।’
पश्चिम बंगाल नदिया घर भएका रहमानले पछिल्लो समय डिसेम्बरको अन्तिम साताबाट बिदाका लागि आवेदन दिएका थिए । क्याम्पका प्रमुखले उनलाई बुधबार नै घर जानका लागि भनेका थिए । उनी भने डिसेम्बर अन्तिम साताबाट बिदामा बस्ने जनाएको सञ्चारमाध्यमले जनाएका छन् । क्याम्पका एक अधिकृतले भने, ‘आवश्यक परेमा थप बिदा स्वीकृत गर्ने आश्वासन दिइएको थियो । बुधबार नै गए बीचमा एकपटक आएर फेरि अन्तिम साता बिदा मिलाउन सकिने भनिएको थियो ।’ एक प्रत्यक्षदर्शी सुरक्षा जवानका अनुसार रहमान आफूले मागेअनुसारको बिदा नपाएर निक्कै तनावमा देखिन्थे । ‘अझ रहमानको बिदालाई लिएर सहकर्मी जवानहरूले खिसी गर्दै हाँसोको पात्र बनाएपछि उनी थप तनावमा थिए,’ उनले भने । तनाव सहन नसकेर रहमानले सर्भिस राइफल एके–४७ बाट क्याम्पमा अन्धाधुन्ध गोली प्रहार गर्दा यो घटना भएको हुन सक्ने क्याम्पका अधिकारीले जनाएका छन् ।
घटनामा दुई सिनियर हेड कन्स्टेबल, हेड कन्स्टेबलसहित ५ को मृत्यु भएको हो । घटनालगत्तै स्थानीय सुरक्षाकर्मीको टोली क्याम्प पुगेको छ भने आईटीबीपीले घटनाको जाँच आदेश दिएको छ । आईटीबीपी, भारतको पाँच केन्द्रीय सशस्त्र प्रहरी बलमध्ये एक हो । केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) कानुनअन्तर्गत सन् १९६२ को अक्टोबर २४ मा यसको स्थापना भएको हो ।
सन् १९६२ मा चीन–भारत युद्धका बेला यसको आवश्यकता महसुस गरी भारत सरकारले यो प्रहरी बल खडा गरिएको थियो । पछि आईटीबीपीलाई विस्तार गरी तिब्बतसँग जोडिएको भारतीय सीमा क्षेत्रमा तैनाथ गरिएको छ । आईटीबीपीका ८९ हजार ४३२ कर्मचारीका लागि भारतीय सरकारले वार्षिक रुपमा ८० करोड अमेरिकी डलर खर्चिदै आएको छ ।

विदेश

चीनमा मोबाइलमाथि कडाइ

सेवा लिन अब अनुहार स्क्यान गर्नुपर्ने
- एजेन्सी

बेइजिङ – चीनले मोबाइल सेवा प्रयोगकर्तामाथि कडाइ गरेको छ । सरकारले लागू गरेको नयाँ नियमअनुसार अबदेखि मोबाइल फोन सेवा लिन चाहने नागरिकले आफ्नो अनुहार स्क्यान गर्नुपर्ने भएको छ ।
अधिकारीहरूले देशका करोडौं इन्टरनेट प्रयोगकर्ताका पहिचान पुष्टि गर्न नयाँ नियम लागू गरिएको जनाएका छन् । सेप्टेम्बरमा घोषणा गरिएको नियम यसै सातादेखि कार्यान्वयनमा आएको हो । गत सेप्टेम्बरमा चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रीले एक सूचना जारी गर्दै ‘इन्टरनेटमा नागरिकको वैधानिक अधिकार तथा स्वार्थ रक्षाका लागि’ नयाँ नियम कार्यान्वयनमा ल्याइएको बताएका थिए । उनका अनुसार टेलिफोन सेवा प्रदायकहरूले मोबाइल प्रयोगकर्ताको परिचय
पुष्टि गर्न ‘आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्राविधिक उपायहरू’
प्रयोगमा ल्याउनेछन् ।
चीनले आफ्ना नागरिकलाई निगरानी गर्न अनुहार पहिचान गर्ने प्रविधि यसअघि नै प्रयोगमा ल्याइसकेको छ । यस्तो प्रकृतिको प्रविधि प्रयोग गर्ने देशहरूमा चीन अग्रपंक्तिमा रहेको छ । चीनले देशभर अनुहार पहिचान गर्ने प्रविधि विस्तार गरेपछि त्यसको पक्ष/विपक्षमा बहस हुँदै आएका छन् । सरकारले अनुहार स्क्यान गर्ने नियमको घोषणा गरेपछि हजारौं मानिसले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए । तीमध्ये अधिकांशले आफ्ना तथ्यांकको गोपनीयता र सुरक्षाबारे प्रश्न उठाएका थिए भने कतिपयले आफूहरूमाथि निगरानी गर्न लागिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
गत आइतबार कार्यान्वयनमा ल्याइएको व्यवस्थाअनुसार स्क्यान गरिएका सेवाप्रदायकका अनुहारका तस्बिर चीन सरकारको केन्द्रीय तथ्यांक भण्डारमा राखिएका व्यक्तिगत परिचयपत्रसँग भिडाएर हेरिनेछ ।
चीनमा यसअघि मोबाइल सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र र तस्बिर आवश्यक थियो । नयाँ नियमपछि स्क्यान गरिएको अनुहार र परिचयपत्रसम्बन्धी तथ्यांक मिलेको खण्डमा मात्र पहिले लिएको सेवा निरन्तर हुने जनाइएको छ । चीनले वर्षौंदेखि मानिसले आफ्नो ‘वास्तविक परिचय’ प्रयोग गरी इन्टरनेट प्रयोग गर्ने सुनिश्चित गर्ने गरी नियम ल्याउने प्रयास गर्दै आएको छ । चीनले सन् २०१७ मा इन्टरनेटमा कुनै सामग्री पोस्ट गर्नका लागि नयाँ नियम लागू गरेको थियो । नियमअनुसार वेबसाइटहरूले कुनै पनि व्यक्तिलाई अनलाइनमा कुनै सामग्री राख्न स्वीकृति दिनुअघि प्रयोगकर्ताको परिचय प्रमाणित गर्नुपर्छ ।
चीनलाई आफ्ना नागरिकको चर्को निगरानी गर्ने देशका रूपमा परिचित छ । चीन सरकारले सन् २०१७ मा देशका विभिन्न स्थानमा १७ करोड सीसीटीभी क्यामेरा जडान गरेको थियो । सरकारी अधिकारीका अनुसार चीन सरकारले सन् २०२० सम्म थप ४० करोड त्यस्ता क्यामेरा जडान गर्ने तयारी गरेको छ । सुरक्षा अधिकारीका अनुसार त्यस्ता सीसीटीभीका सहयोगले खोजीको सूचीमा रहेको तथा भगौडालाई पक्रन सहयोग पुगेको जनाउने गरेका छन् । गत वर्ष सुरक्षाकर्मीबाट भागेका एक व्यक्तिलाई ६० हजार दर्शक सहभागी भएको एक सांगीतिक कार्यक्रमबाट पक्राउ गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका थिए ।

विदेश

डुंगा दुर्घटनामा ५८ आप्रवासीको मृत्यु

- एपी

डाकार, सेनेगल – अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरू चढेको डुंगा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ ।
गाम्बियाबाट साताअघि हिँडेको डुंगामा कम्तीमा १ सय ५० यात्रु रहेको अनुमान गरिएको छ । यस डुंगामा महिला र बालबालिका पनि सवार थिए । यो डुंगा मौरिटानियाको तटीय इलाका केनरी द्वीपतर्फ आवश्यक इन्धन र खाद्यान्नका लागि आउँदै गरेको अवस्थामा दुर्घटनामा परेको पश्चिम अफ्रिकाका लागि राष्ट्रसंघका अधिकारी लाउरा लुंगारोटीले बताए ।
उनले डुंगामा सवार धेरैजना समुद्रमै डुबेका र बाँच्न सफल भएकाहरू एटलान्टिक महासागरमा पौडिएर मौरिटानियाको तटीय सहर नौडिबाउमा आएको जनाए । उनले कम्तीमा ८३ जना आप्रवासीहरू पौडिएर तटीय इलाकामा निस्कन सफल भएको बताए । घाइतेको उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ । पौडिएर बाँच्न सफल भएकाहरूले आफूहरू गत नोभेम्बर २७ मा गाम्बियाबाट हिँडेको बताए । यसबारे गाम्बिया सरकारले केही बताएको छैन । हालैका वर्षहरूमा युरोप प्रवेश गर्ने लालसामा गाम्बियाका दशौं हजार नागरिक समुद्रको कठिन यात्रामा निस्कने गरेका छन् । अफ्रिकाको सानो मुलुक गाम्बियाबाट सन् २०१४ देखि २०१८ को बीचमा मात्र ३५ हजारभन्दा बढी नागरिक युरोप प्रवेश गर्न सफल भएको राष्ट्रसंघीय आप्रवासन संगठनले जनाएको छ ।
गाम्बियामा करिब २२ वर्ष शासन गरेका पूर्वराष्ट्रपति याहृया जम्माहको शासनकालमा मुलुकको अर्थतन्त्र चौपट भएको र युवा बेरोजगारी बढेको थियो ।

Page 11
समाचार

विवादै विवादमा 'सिद्धबाबा'

१५ वर्षअघि चतरा आएका ‘सिद्धबाबा’ (कृष्णबहादुर गिरी) यतिबेला प्रहरी नियन्त्रणमा छन् । उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप छ । पक्राउ परेसँगै उनका विवादास्पद गतिविधिहरु एकपछि अर्को खुल्न थालेका छन् ।
- प्रदीप मेन्याङ्बो
सुनसरी मोरङ सिँचाइ आयोजनाको जग्गामा ॅसिद्धबाबा’ ले बनाएको १२८ कोठे भवन । तस्बिर ः प्रदीप/कान्तिपुर

(सुनसरी) - दशकयता जगद्गुरु, अनन्तश्री र महायोगी सिद्धबाबाका रूपमा चिनिँदै आएका ४५ वर्षीय कृष्णबहादुर गिरी यतिबेला गम्भीर विवादमा फसेका छन् । उनीमाथि आफ्नै अनुयायी एक महिलाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् । त्यही उजुरीका आधारमा प्रहरीले गिरीलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
गिरी यसअघि पनि पटक–पटक यस्तै विवादमा मुछिएका थिए । उनले करिब चार वर्षअघि इटहरीको बालग्रामबाट पढाउन भन्दै चतरास्थित आश्रममा लगेका १३ र १२ वर्षका चापागाईं थरका दुई बालिकालाई यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको थियो । हाल इटहरीमा पीडित महिलालाई आश्रय दिने मायाघरकी सञ्चालक समिति सदस्यसमेत रहेकी महिला सञ्जालकी सचिव शुभद्रा प्याकुरेलका अनुसार ती बालिका चार महिना नपुग्दै भागेर बालग्रामस्थित घरमा आएपछि दुर्व्यवहारबारे खुलेको थियो ।
‘बालग्रामका स्थानीय बासिन्दाले गिरीले बालिकाहरूलाई आश्रमको कोठामा लगेर दुर्व्यवहार गरेको जानकारी दिएपछि सुनसरीको ओरेक (महिला पुनर्स्थापना केन्द्र) र महिला सञ्जालका प्रतिनिधिले घटना बुझ्ने प्रयास गरेका थिए,’ प्याकुरेलले भनिन्, ‘तर अभिभावक र गिरीका भक्तले हामीलाई ती बालिकासँग भेट्न दिएनन् ।’
यौनकाण्डको भन्डाफोर हुने भएपछि स्थानीय केही नेताले ती बालिकालाई भारतको आश्रममा पढ्न पठाउने योजना बनाएका थिए तर महिला सञ्जाल, ओरेक र माइती नेपालका प्रतिनिधिले बालिकाहरूलाई जोगबनी कटाउन लाग्दा फर्काएका थिए । गिरीले सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियामार्फत ‘भारतको आश्रममा अध्ययन गर्न पठाएको सिफारिस’ रातारात बनाएपछि आफूहरूले केही गर्न नसकेको प्याकुरेलले जनाइन् । ती दुई दिदीबहिनी अहिले भारतको दिल्लीस्थित कन्याकुमारी
आश्रममा रहेको बताइए पनि अभिभावकले नै ढाकछोप गरेकाले थप खोजी हुन नसकेको प्याकुरेलले बताइन् ।
गिरीले दैनिक शक्तिबर्द्धक जडीबुटी दूधमा मिसाएर सेवन गर्ने गरेको र युवतीप्रति आशक्त नहुन सुझाउँदा ‘तैंले मलाई सिकाउने’ भन्दै विवाद गर्ने गरेको उनकै नातेदारले बताएका छन् । आश्रममा वर्षा नामकी युवतीका विषयमा दुईपटक यस्तै विवाद हुँदा उनले आफ्नै भाइ एनकुमार गिरीलाई समेत कुटेका थिए । गिरीले वर्षा र अस्वीना अधिकारीलाई चेली बनाएर आश्रममा राखेका छन् । अस्वीना मातातीर्थका नारायण बाबाकी चेली हुन् । उनी आफ्ना गुरु नारायण बाबाको मृत्युपछि गिरीसँग बस्न थालेकी हुन् । गिरीका भक्तहरूका अनुसार वर्षा राजस्थानकी हुन् ।
यसअघि सिन्धुलीकी कार्की थरकी एक महिलाका विषयमा पनि आश्रममा विवाद भएको थियो । गिरीप्रति आशक्त भएको भन्दै श्रीमान्सँग झगडा भएपछि ती महिलालाई गिरीले चेली बनाएर आश्रममा राखेका थिए । गिरीले राजस्थानका एक मारवाडी दम्पतीको पनि सम्बन्ध बिगारिदिएको उनका भक्तहरू बताउँछन् । ती महिलाको गिरीसँगको सम्बन्ध थाहा पाएपछि श्रीमान्ले छाडेका थिए ।
चतराको जग्गा कब्जा
बराहक्षेत्रको चतरामा बस्दै आएका बालसन्त मोहनशरण देवाचार्यका अनुसार उनी ०६१ सालमा सन्तको भेषमा घुम्दै चतरा आएका थिए । त्यसबेला कोइराला थरका शिष्य दम्पतीले भारतबाट आफूलाई कृष्णदास महाराज बताउने नेपाली साधु आएको भन्दै उसलाई शरण दिन अनुरोध गरेपछि बालसन्तले आश्रमको एउटा कोठा उपलब्ध गराएर नियमित जपतप, वेदपुराण उपनिषद् अध्ययन गर्न प्रेरित गरेका थिए । करिब पाँच वर्ष बालसन्तसँग बस्दाबस्दै कृष्णदासले आफ्नै अनुयायी बनाउन थाले ।
हाल बराहक्षेत्रको चतरा आश्रमबाहिर रहेका बालसन्तले फोनमा भने, ‘धर्म–संस्कृति जोगाउँदै समाजका हितमा धर्मकर्म गर्नुपर्छ भनेर मैले शरण दिएको हुँ । पाँच वर्षयतादेखि उनी र मेरो सम्पर्क भएको छैन । दुई–तीन दिनयता उनीसँग जोडिएका नराम्रा समाचार सुन्दै छु । साधु–सन्त–महन्त समाजको हुनसम्म बदनाम भएको छ । मान्छेले आफ्नो कर्मको फल भोग्नुपर्छ भनेर हिन्दु धर्मशास्त्रमै उल्लेख छ । योभन्दा अरू मैले के भन्ने र अब ।’
झापाको बुधबारेमा ०३३ सालमा जन्मिएका मोहनशरण ०५५ सालदेखि चतराधाममा बस्दै आएका छन् । उनले प्राचीन हरिद्वार भएको दाबी गर्दै उक्त स्थानमा कुम्भमेला आयोजना सुरु गरेका थिए ।
सोलुखुम्बुको जुवुमा ०३१ फागुन १९ गते जन्मेका गिरी स्थानीय स्कुलमा कक्षा सातमा अनुत्तीर्ण भएपछि ०४९ सालतिर घर छाडेर भारत गएका थिए । भारत जानुअघि जग्गाको सिमानाको विषयमा भएको विवादमा छिमेकीलाई मरणासन्न हुने गरी कुटपिट गरेकामा उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दासमेत परेको थियो । त्यो मुद्दा अझै छ । उनले सुनसरी जिल्ला प्रशासन कार्यालयबाट ०६५ पुस १७ गते अर्को नागरिकता पनि लिएका छन् । त्यसमा ०३० मंसिर १० गते जन्ममिति उल्लेख छ । यसबारे प्रशासनले मौनता देखाएको छ ।
घर छाडेको ६ वर्षपछि नेपाल आएका उनले परिवारसँग भेट गरेका थिए । घर आउँदा उनी युवा सन्तको भेषमा थिए । बालसन्तसँग बस्दाबस्दै उनले बराहक्षेत्रस्थित सुनसरी मोरङ सिंचाइ आयोजनाको १३ बिघा जग्गा कब्जा गरेर सुरुमा आयुर्वेदको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । ०६४ सालमा उनले चतराको सोइल कन्जरभेटिभ क्षेत्रमा सुरुमा ‘आयुर्वेदको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने’ भनेर २३ घरपरिवारलाई विस्थापित गराए । पछि घेराबार गरेर मन्दिर, हनुमानको प्रतिमा, रामानन्दचार्य सेवा पीठको भवन बनाए ।
सिँचाइ आयोजनाले भौतिक संरचना नबनाउन पटक–पटक ताकेता गरे पनि उनले त्यही स्थलमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएर ‘भैंसी पूजन’ गर्न लगाए । दाहालले नै भैंसी पूजा गरेपछि आयोजनाका पदाधिकारी थप बोल्न सकेनन् ।
०६५ सालदेखि उनले आफूलाई आयुर्वेदमा विद्यावारिधि गरेको डा. महासिद्ध योगी भनेर पर्चा–पम्प्लेटमा लेखाउन थालेका थिए । उनले आफू भारतमा रहँदा विभिन्न विषयमा आचार्य गरेको भन्न थालिसकेका थिए । उनका अनुयायीहरू पनि बढ्दै गएका थिए । पछिल्लो समय उनले भारतको अयोध्यामा अनन्तश्री र सिद्धबाबा उपाधि पाएका थिए ।
उनले चतराको जग्गामा आयुर्वेद विश्वविद्यालय खोल्न राजनीतिक दलका शीर्षस्थ नेतादेखि प्रहरी, सेना र सरकारका सचिवसम्म लबिङ गर्दै आएका थिए । यसबीच दाताहरूको सहयोगमा ८ करोड रुपैयाँ लागतमा १२८ कोठे वातानुकुलित आलिसान भवन निर्माण गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउन सफल भए । यसका लागि उनले भण्डारीकी आमा मिथिला पाण्डेलाई प्रयोग गरेका थिए । पाण्डे चतरामै आश्रम बनाएर
वृद्धवृद्धाको सेवा गर्दै बसेकी छन् । रामानन्दाचार्य सेवा पीठमार्फत बनेको उक्त भवनको नक्सा पाससमेत नभएको स्थानीय बासिन्दाले बताउँदै आएका छन् ।
बराहक्षेत्रलाई विश्वकै हिन्दु धार्मिक तीर्थस्थलका रूपमा विकास गर्दै हरित क्रान्ति गर्ने, आयुर्वेद, गौपालन, आयुर्वेद विश्वविद्यालय, योग केन्द्र, जडीबुटी प्रशोधन र उत्पादन गर्ने प्रमुख स्थल बनाउने भन्दै उनले बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाललाई आश्रममा बोलाएरभवनको नक्सा पासको प्रमाणपत्र दिलाइदिन अनुरोध गरेका थिए । ‘त्यसबेला भवन निर्माण भइसकेको थियो तर जग्गाको स्वामित्व बराहक्षेत्र नगरपालिकामातहत नभएर सुनसरी मोरङ सिँचाइ आयोजनाको भएकाले नक्सापासको प्रमाणपत्र दिने अधिकार नगरपालिकालाई नभएको बताए । ‘जसको अनुमतिले भवन निर्माण गर्नुभयो, उसैसँग प्रमाणपत्र लिनु भनेर म फर्किएँ’, उनले भने ।
पूर्वाधार विस्तार गर्न जग्गा अभाव भइरहेका बेला गिरीले कब्जा गरेर भौतिक संरचना बनाएको विषयमा पटक–पटक जानकारी गराए पनि मन्त्रालयले बेवास्ता गरेको आयोजनाले बताउँदै आएको छ । गिरीले कब्जा गरेको जमिन चतरा नहरको मुख्य स्थानमा पर्छ । उक्त स्थानबाट नहरमा जम्मा भएको बालुवा फाल्ने ड्रेजर मेसिनमा जडान भएको पाइपलाइन भूमिगत रूपमा कोसीमा पुर्‍याइएको छ । ती पाइपलाइनमाथि १२८ कोठे भवन, करिब एक करोड लागतको निजी निवास, हनुमान प्रतिमा, केही मठमन्दिर, रामानन्दाचार्य सेवा पीठका भवन र अन्य भौतिक पूर्वाधार
निर्माण भएका छन् ।
गिरीले कब्जा गरेको जग्गा आयोजनाको स्वामित्वमा रहेको र त्यहाँ बनेका भौतिक संरचना हटाइदिन सुनसरी जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको तत्कालीन सुनसरी मोरङ सिँचाइ आयोजना प्रमुख हरिराम श्रेष्ठले बताएका थिए । आयोजनाका निमित्त प्रमुख आनन्द धामीले कब्जा भएको आयोजनाको जग्गाबारे खोजीनिती भइरहेको बताए । ‘खोजीनिती गरिरहेका छौं, हेरौं पछि के हुन्छ,’ उनले भने ।
गिरीको ‘आशीर्वाद लिन’ प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, नेता, मुख्यमन्त्री, सुरक्षा निकायका प्रमुख, उद्योगी–व्यापारीसमेत पटक–पटक चतरा आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमन्त्री कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, एनपी साउद, विजयकुमार गच्छदार, लालबाबु पण्डित, प्रदीप नेपाल, मोदनाथ प्रश्रित, पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्कीलगायत धेरै उच्चपदस्थ व्यक्तिले गिरीसँग भेटेका थिए ।
चतरामा आयुर्वेदिक विश्वविद्यालयको शिलान्यास गर्न नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रेलाई बोलाइए पनि उनी ‘पहिले उक्त जग्गाको स्वामित्व लिनु’ भन्दै पन्छिएका थिए । गिरीले विश्वमा वातावरण प्रदूषण बढेकाले ‘ओजन तहको प्वाल टाल्न’ भन्दै चतरामा गत फागुन तेस्रो साता नौ दिनसम्म श्रीराम तारकब्रह्म महायज्ञ गरेका थिए । त्यसक्रममा १२ करोडको अन्न, तेल, तिल र घ्यु जलाइएको भन्दै आलोचना भएको थियो । देउवा, नेपाल र पौडेल महायज्ञ चलिरहेका बेला बीचबीचमा सहभागी भएका थिए ।
गिरीले राष्ट्रपति भण्डारीलाई ०७४ सालको रामनवमीका अवसरमा आयोजित भूसमाधिमा पनि बोलाएका थिए । चतरा र पोखरामा भूसमाधि बसेर उनले चर्चा बटुलेका थिए । भूसमाधिका लागि सम्पूर्ण तयारी उनकै कान्छा भाइ एनकुमार गिरी, खगेन्द्र आचार्य र अर्जुन गुरुङले गरेका थिए । उनले पाँच वर्षसम्म भित्रिया भएर काम गरेका एनकुमारलाई आश्रम व्यवस्थापन, खगेन्द्रलाई कर्मकाण्ड र अर्जुनलाई भौतिक संरचना रेखदेखको जिम्मेवारी दिएका थिए ।
उनले सन्तको भेषमा अवैध गतिविधि गर्न थालेपछि तीनै जना विश्वासपात्रले एकसाथ आश्रम छाडेका थिए । अहिले तीनै जना घरव्यवहारमा रमाइरहेका छन् । ‘महाराज (कृष्णदास) ले तिमीहरू तीन जना मिलेर मेरो भविष्य पनि बनाऊ,
आफ्नो पनि बनाऊ भनेका थिए तर उनको गतिविधि गलत हुन थालेको थाहा पाएपछि हामीले साथ छाड्यौं,’ एनकुमारले भने ।
अक्सिजनबिना नौ दिनसम्म भूसमाधि बसेको भनेर चर्चा चले पनि उनले मान्छेलाई मूर्ख मात्रै बनाएको एनकुमारले बताए । उनका अनुसार भूसमाधिमा बसेजस्तो देखाउने तर सबै मानिस गएपछि निस्कन सहज हुने गरी बनाइएको ढोकाबाट निस्केर गोप्य कोठामा बस्ने, खाने, दिसापिसाब गर्ने गर्थे ।
१००८ वैष्णव कृष्णदास महाराजको पद पाएका गिरीको चर्चा चुलिएसँगै ०७६ जेठ ३२ गते भारतको अयोध्यामा आयोजित अखिल भारतीय विराट सन्त सम्मेलनले उनलाई महायोगी सिद्धबाबा घोषणा गरेको थियो । प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले ‘ईश्वरीय अनुपम सामर्थ्यको सम्मानस्वरूप स्वामी रामकृष्णाचार्य जगद्गुरु
रामानन्दाचार्य’ सम्मानले समेत विभूषित गरेका थिए । आफैंले जगद्गुरु घोषणा गरिसकेका गिरी सन्तहरूको सम्मेलनमा अनन्तश्री पदले विभूषित भएका थिए ।
गिरीले इटहरीको तरहरामा बसेका बेला सिंगापुर पठाउने भन्दै कान्छा भाइ एनकुमारमार्फत ११ जनाबाट ४ लाख रुपैयाँका दरले उठाउन लगाएका थिए । ४४ लाख रुपैयाँ लिएर उनी भारत फरार भए । सिंगापुर जान नपाएपछि पीडित युवाले कृष्णदास महाराजका नाममा उजुरीसमेत हालेका थिए । पछि आफूले जग्गा बेचेर रकम फिर्ता गरेको एनकुमारले बताए । ‘दिल्लीको एनआरआई सिटीकी युवती सोनल साह र उनका ब्वाइफ्रेन्ड सुलेमानसँग मिलेर सिंगापुर पठाउने भनी ११ जनाबाट चार लाखका दरले उठाउन भने, मैले रकम उठाएर दिएँ,’ उनले भने, ‘सिंगापुरमा सोनाल र सुलेमानका छोरा धीरज शरणार्थी बनेर बसेका रहेछन् ।
तिनैको माध्यमबाट युवालाई पठाउने योजना बनाएका रहेछन् ।’
०६७ सालमा गिरीले एनकुमारलाई चतरा आश्रममा आयुर्वेदको औषधि बनाउने भनेर सोलुखुम्बुबाट लोठसल्ला ल्याउन पठाएका थिए । ६० किलो लोठसल्लाको बोक्रा र पात लिएर आउँदै गर्दा बाटामा प्रहरीले पक्राउ गरेको थियो । गिरीले आफ्नो पोल खोलिने डरले एनकुमारलाई रिहा गर्न पहल गरेनन्, बरु चुपचाप जेलमै बस्न भनेर खबर पठाए ।
गिरीले स्वास्थ्य शिविर सञ्चालन गर्ने भनेर सिंहदरबार वैद्यखानाबाट आयुर्वेदका निःशुल्क औषधि ल्याई अर्को प्याकेटमा राखी भक्तजनलाई महँगोमा बिक्रीसमेत गरेको एनकुमारले बताए ।
गिरी बलात्कार आरोपमा पक्राउ परेपछि त्यहाँको करोडौंको भौतिक संरचना सदुपयोग गर्न बराहक्षेत्र नगरपालिकाले तत्कालै बैठक बसेर वातावरण र पर्यटनसम्बन्धी प्रदेशको मन्त्रालय राख्न अनुरोध गरेको छ ।

समाचार

साइस्मिक सर्भे हुँदै

पेट्रोलियम अन्वेषण
- ज्योति कटुवाल
दैलेखको डुंगेश्वर गाउँपालिका– १ चुप्रामा पेट्रोलियम अन्वेषणका लागि ल्याइएका मेसिन । तस्बिर ः ज्योति/कान्तिपुर

(दैलेख) - पेट्रोलियम अन्वेषणअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा साइस्मिक सर्भे भइरहेको छ । जिल्लाको दुल्लु र नारायण नगरपालिका एवं भैरवी र महाबु गाउँपालिका क्षेत्रमा सर्भे केन्द्रित छ । सर्भेपछि कुन पेट्रोलियम कहाँ, कति मात्रामा छ भन्ने पत्ता लाग्ने अन्वेषणमा संलग्न विज्ञले बताएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका र डंगेश्वर, नौमुले र भगवतीमाई गाउँपालिकाका केही ठाउँमा पनि अन्वेषण गरिने पेट्रोलियम अन्वेषण आयोजनाका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले जानकारी दिए । उनका अनुसार दुई महिनाभित्र सम्भावित क्षेत्रको अध्ययन सकिनेछ ।
साइस्मिक सर्भेअन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी त्यसबाट उत्पन्न भूकम्पीय तरंगलाई जमिनभित्र धेरै गहिराइसम्म पठाइन्छ । त्यहाँ विभिन्न तहमा ठोक्किएर फिर्ता भएका तरंग सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड गरिन्छ ।  ‘साइस्मिक सर्भेले तरंगहरूको सूक्ष्म विश्लेषण गरी पेट्रोलियमको भण्डार हुन सक्ने सम्भावित भौगर्भिक संरचना पहिचान गर्छ,’ त्रिपाठीले भने, ‘त्यसपछि मात्र अन्वेषणको थप प्रक्रिया अघि बढ्छ ।’
विभिन्न भागमा २० किलोमिटर क्षेत्रभित्र १० सर्कलमा १० समूह निर्माण गरी ड्रिलिङ गरिँदै छ । तीमध्ये एउटा सर्कलमा जमिनमुनि करिब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको त्रिपाठीले बताए । अन्य सर्कलमा पनि तीव्र रूपमा काम अघि बढेको उनको भनाइ छ । चाइना जिओलजिकल सर्भेको टोलीले अन्वेषण गरिरहेको छ । वरिष्ठ भूगर्भविद् ट्यान फुएनले त्यसको नेतृत्व गर्दै छन् । एक समूहमा ८ नेपाली कामदार र दुईजना विज्ञ सम्मिलित टोली खटिएका छन् । सर्भेको प्रतिवेदनका आधारमा अर्को वर्ष उपयुक्त स्थान खोजेर भण्डारणबारे थप अनुसन्धान गरिने विज्ञको भनाइ छ ।
साइस्मिकका साथै जिओलोजिकल, म्याग्नेटो टेल्युरिक र जिओकेमिकल सर्भेको काम पनि भइरहेको आयोजनाले जानकारी दिएको छ । जियोकेमिकलअन्तर्गत विभिन्न ग्रेडको नमुना संकलन गर्ने काम भइरहेको त्रिपाठीले बताए । एक साताभित्र नमुना संकलनको काम सकिने उनको भनाइ छ । म्याग्नेटो टेल्युरिक सर्भेको काम पनि सकिइसकेको छ । ‘सतहमुनिको गहिराइको अध्ययन र तेलको सम्भावना कस्तो छ भनेर बुझ्न म्याग्नेटो टेल्युरिक र जियाकेमिकल सर्भे गरिन्छ,’ उनले भने, ‘त्यसपछि मात्र अन्वेषणको काम कति सहज रूपमा अघि बढ्छ भन्ने थाहा हुन्छ ।’ अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम भण्डार भएको पुष्टि भए अर्को वर्ष नोभेम्बरमा दोस्रो चरणको अन्वेषण गरिनेछ । आर्थिक विश्लेषणअन्तर्गत भण्डारको आकारप्रकार, आयतन, व्यापारिक रूपमा उत्पादन गर्न सकिने/नसकिनेबारे अध्ययन हुनेछ ।
चट्टान बन्यो बाधक
पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा कडा चट्टान बाधक बनेको छ । मेसिन छिटोछिटो बिग्रँदै गएका छन् । जमिनमुनि करिब ४५ फिटसम्म ड्रिलिङ गर्नुपर्ने भएकाले चट्टान परेपछि मेसिन बिग्रिने गरेको आयोजनाका मानव संसाधन प्रमुख सूर्यमणि लामिछानेले बताए । अन्वेषण क्षेत्रका लागि ल्याइएका २० वटा मेसिनमध्ये करिब १० वटा बिग्रेका छन् । तिनलाई मर्मत गर्दै काम गरिएको उनको भनाइ छ । ‘पर्याप्त मेसिन र राम्रो भूगोल भइदिएको भए यस्तो सास्ती खेप्नुपर्ने थिएन,’ उनले भने । विस्फोटक पदार्थका साथै अन्य महत्त्वपूर्ण सामग्री सुरक्षाको जिम्मा जिल्ला सुरक्षा समितिले लिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

 

समाचार

'दुईवर्षे करारपत्र मात्रै प्रमाणीकरण'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कतारस्थित नेपाली दूतावासले दुई वर्षभन्दा बढी अवधिको करारपत्र प्रमाणीकरण नगर्ने बताएको छ । कतारले भिसा प्रक्रियाका लागि काठमाडौंमा खोलेको कतार भिसा सेन्टर (क्यूभीसी) बाट श्रम सम्झौताविपरीत दुई वर्षभन्दा बढी अवधिको करारपत्र जारी हुन थालेपछि त्यसलाई रोक्न दूतावासले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।
नेपाल र कतारबीच भएको श्रम सम्झौतामा नेपाली कामदार दुई वर्षका लागि मात्रै आपूर्ति गर्ने उल्लेख छ । त्यसपछि रोजगारदाता र कामदारबीच सहमतिमा करार अवधि प्रत्येक वर्ष बढाउन सकिने समझदारी छ । दूतावासले भिसा सेन्टरमा दुईवर्षे करारपत्रको अवधि तोकेर मात्रै पेस गर्न रोजगारदाता कम्पनीलाई अनुरोध गरेको छ । सेन्टरमा औंला छाप, फिंगरिङ र करारपत्रमा हस्ताक्षर भएपछि मात्रै भिसा जारी हुन्छ ।

Page 12
कला र शैली

नेपाल आउँदै आशा

- कान्तिपुर संवाददाता
नेपालमा सांगीतिक–यात्रासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेपछि भारतको मुम्बईमा चर्चित गायिका आशा भोसले, संगीतकार रञ्जित गजमेरका साथ संगीतकार मिलन मोक्तान । तस्बिर सौजन्य ः आशा गौतम

(काठमाडौं) - उनले गाएका धेरै नेपाली गीत सदाबहार छन् । ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर माइतीघर...’, गैह्रीखेतको शिरै हान्यो...’, ‘एउटा मान्छे मनपर्छ...’, ‘म प्यार बेचिदिन्छु...’ देखि ‘मोहनी लाग्ला है...’, लगायत । सबैभन्दा धेरै गाउने गायिकाका रूपमा सन् २०११ मै गिनिज बुकमा नाम लेखाएकी उनै चर्चित भारतीय गायिका आशा भोसले सांगीतिक प्रस्तुतिका लागि नेपाल आउँदै छिन् । फिल्म र आधुनिक संगीतका गरी सयभन्दा बढी नेपाली सिर्जना गाएकी यी ८६ वर्षीया गायिकाले आउँदो पुस १२ मा काठमाडौंमा प्रस्तुति दिन लागेकी हुन् ।
हालै संगीतकार रञ्जित गजमेर र नेपालस्थित आयोजक साधना कला केन्द्रका अध्यक्ष एवं संगीतकार मिलन मोक्तानले भारतको मुम्बईमा गायिका भोसलेलाई भेटेर नेपाल यात्राबारे सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । ‘नेपाली फिल्मका गीत मात्रै उहाँले ६० वटा गाउनुभएको रहेछ,’ हालै मुम्बईबाट फर्केका मोक्तानले भने, ‘उहाँले गाउनुभएका प्रायः सबै गीत चर्चित छन्, केहीको रिमेक छन् । अहिलेको पुस्ताले पनि उहाँका गीत गुन्गुनाउँछन् । नेपाली सांगीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुभएका उहाँ जस्तो प्रतिभा नेपालमा आउने कुराले हामी
उत्साहित छौं ।’
सम्झौताअनुसार गायिका भोसलेको नेपाल–यात्रा पाँच दिनको हुनेछ । यो अवधिमा उनले नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण सँगसँगै आफ्नो एकल प्रस्तुति पनि दिनेछिन् । संगीतकार आरडी वर्मनसँग दोस्रो बिहे भएपछि सन् असीकै दशकमा उनी निजी भ्रमणमा काठमाडौं आएकी थिइन्, जुन भ्रमण गोप्य थियो । ‘नेपालबारे मलाई सबै थाहा छ । पशुपतिनाथको दर्शन गरेकी छु,’ गायिका भोसलेले भिडियो सन्देशमा भनेकी छन्, ‘तर, सांगीतिक यात्राको अवसर भने कहिल्यै जुरेको थिएन । यसपटक म निकै उत्साहित छु ।’ कला केन्द्रले आशा भोसले र रञ्जित गजमेरको छुट्टाछुट्टै एकल प्रस्तुति गर्न लागेको हो । भिडियो सन्देशमा भोसलेले आफूले गजमेरका धेरै गीत गाएको र यसपटक उनै गजमेरको सम्मानमा नेपाल आउन लागेको पनि बताएकी छन् ।
‘हामी रञ्जितलाई कान्छा भन्छौं, उनको हे कान्छा...भन्ने गीत पनि छ । मलाई उनका गीतहरू खुब मनपर्छ,’ भिडियो सन्देशमा उनले यसो भन्दै गजमेरसँगै ‘डाँडा खोला बगर...’ गीत गाएकी पनि छन् । गजमेरले चाहिँ आफ्ना प्रायः गीतहरू आशाले गाएकोप्रति गर्व गर्दै नेपालमा हुन लागेको कार्यक्रमप्रति निकै उत्साहित भएको बताएका छन् । गजमेरसँगै भोसलेलाई निम्तो दिन र सम्झौता गर्न नेपालबाट मोक्तानसँगै कार्यक्रम संयोजक आशा गौतम पनि मुम्बई गएकी थिइन् । मोक्तानका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने गजमेरको एकल साँझमा मुख्य अतिथिको रूपमा उपस्थित हुने भोसलेले सोल्टी होटलमा आफ्नो छुट्टै प्रस्तुति दिनेछिन् ।
नेपाल आगमनको विस्तृत कार्यक्रम सम्झौताअनुसार भोसले आउँदो पुस ९ मा काठमाडौं आइपुग्नेछिन् । एयरपोर्टमा नेपाली सांस्कृतिक विविधता झल्किने विभिन्न लोक नृत्यमार्फत स्वागत गरिने कार्यक्रम छ । त्यसपछि उनी सिधै सोल्टी होटल जानेछिन्, जहाँ सांगीतिक क्षेत्रका दिग्गज स्रष्टा र कलाकारहरूले स्वागत गर्नेछन् । ‘त्यहीँ हामी छोटो प्रेस सम्मेलन र रिसेप्सन पनि गर्नेछौं,’ कार्यक्रम संयोजक गौतमले भनिन्, ‘भोलिपल्ट पशुपतिनाथ र स्वयम्भूनाथ दर्शन गर्नुहुनेछ ।’ सोही दिन राष्ट्रपति भवनमा सानो कार्यक्रम हुन सक्ने र त्यसको तयारी भइरहेको पनि उनले बताइन् । पुस ११ मा कार्यक्रमको तयारी र भारतीय दूतावासमा रात्रिभोज तय गरिएको छ । ‘सोही दिन प्रज्ञा प्रतिष्ठानमा रञ्जित गजमेरका फ्यानहरूका लागि ‘रञ्जित साँझ’ हुनेछ,’ साधनाका अध्यक्ष मोक्तानले भने, ‘त्यहाँ आशा दिदी प्रमुख अतिथिको रूपमा हुनुहुनेछ ।’
भोस्लले भने पुस १२ मा सोल्टी होटलमै प्रस्तुति दिनेछिन् । भोसले र गजमेरको कार्यक्रममा गायक प्रेमध्वज प्रधान, इन्द्रजित मिजार, रोविन शर्मा, रामकृष्ण ढकाल, उदय सोताङदेखि गायिका भारती घिमिरे, मनिला सोताङ, प्राश्ना शाक्य, बानिका प्रधान, तृशला गुरुङ, स्मिता दाहाल, सुजाता बर्मा, गायत्री त्रिपाठी, शिला विष्ट, एन्नी श्रेष्ठ, सम्झना वली, सृष्टि हिङमाङ, गायक मनोज राज, विवेक श्रेष्ठ, अजर जंगम, सञ्जय तुम्रोक, बुद्ध लामा, राज सागर, सुरेश लामा, निशान भट्टराई, सुमित पाठक, लेखराज गुरुङलगायतले पनि गाउनेछन् । मोक्तानका अनुसार कार्यक्रमको भोलिपल्ट पोखरा र लुम्बिनी भ्रमण राखिएको छ भने पर्सिपल्ट मुक्तिनाथ र काठमाडौं उपत्यका भ्रमणको कार्यक्रम हुनेछ ।


पहिलो नेपाली गीत
भोसलेको स्वरमा सजिएका प्रायः नेपाली फिल्मका गीतहरू चर्चित छन् । उनलाई नेपाली गीत गायनको मौका जुराउने भने रञ्जित गजमेर नै हुन् । भोसलेको दोस्रो पति आरडी वर्मनको ब्यान्डमा काम गर्ने क्रममा गजमेरको भेट भोसलेसित भएको थियो । सन् असीको दशकमा उनले भोसलेका लागि ‘झझल्को लिएर आएछ सावन...’ कम्पोज गरेका थिए । यही गीत भोसलेको पहिलो नेपाली गायन थियो । यसपछि भोसलेले ‘के सोचे मैले...’, ‘नयाँ–नयाँ सजाऔं संसार...’, ‘मोहनी लाग्ला है...’, ‘दिलमा फोटो छ...’, ‘साउने झरीमा...’, ‘आज हाम्रो भेट भाको दिन...’, ‘यति धेरै माया दियौं...’, लगायतका चर्चित गीतहरू गाइन् । महाराष्ट्रको सांगीतिक घरानामा जन्मिएकी भोसलेले आफ्नो ६ दशक लामो करिअरमा विभिन्न भाषाका १० हजारभन्दा बढी गीत गाएकी छन् । शास्त्रीय गीत, गजल, भजन, पपदेखि लोकशैलीका गीतसम्म गाएकी उनलाई चार वर्षअघि बीबीसीले संसारकै सयजना प्रेरणादायी महिलाको सूचीमा राखेको थियो । उनका बुबा दीनानाथ मंगेश्कर चर्चित शास्त्रीय संगीतकार र रंगकर्मी थिए । आशा ९ बर्षको उमेर छँदा नै बुबाको निधन भएको थियो र यसपछि दिदी लता मंगेश्करका अभिभावकत्वमा उनी हुर्किकी थिइन् । सन् २००० मा भारतीय फिल्म क्षेत्रकै सबैभन्दा ठूलो ‘दादासाहेब फाल्के’ अवार्ड पाएकी उनी २००५ को ग्रामी अवार्डमा बेस्ट कन्टेम्पररी वर्ल्ड म्युजिक एल्बमका लागि मनोनयनमा परेकी थिइन् ।
भोसलेलाई नेपाली सांगीतिक दुनियाँसित जोडिदिने रञ्जित गजमेर भने दार्जिलिङमा जन्मिएका हुन् । बलिउडमा पहिलोपटक नेपाली बाजा मादल चिनाउने जस पाएका गजमेर करिअरको सुरुवाती समय नेपालमै संघर्षरत थिए । उनले रेडियो नेपालदेखि नेपाल प्रज्ञा प्रतिष्ठानसम्म काम गरेका थिए । ‘बाँसुरी’, ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘दर्पण छाया’ जस्ता पुराना र चर्चित फिल्ममा कालजयी संगीत दिएका गजमेर सन् सत्तरीको सुरुवाती दशकमा मुम्बई निम्त्याइएको थियो । त्यसपछि उनी आरडी वर्मनको ब्यान्डमा सक्रिय रहे । ‘नेपालमा हुन लागेको कार्यक्रमप्रति म निकै उत्साहित छु,’ उनले भनेका छन्, ‘आशा भोसलेको साथ आफैंमा ऐतिहासिक सावित हुनेछ ।’ कार्यक्रमका लागि भारत दार्जिलिङबाट दुई दर्जनभन्दा बढी संगीतकर्मीसमेत आइपुग्ने साधनाका अध्यक्ष मोक्तानले जनाए । ‘नेपाली सांगीतिक क्षेत्रकै यो ठूलो उत्सव हुनेवाला छ,’ उनले भने ।

कला र शैली

सम्झनामा स्वरसम्राट

- कान्तिपुर संवाददाता

(काठमाडौं) - स्वरसम्राट नारायण गोपाललाई नजिकबाट नियाल्न पाएका थोरैमध्ये वरिष्ठ गीतकार, संगीतकार तथा गायक जगत मर्दन थापा पनि एक हुन् । स्कुले सहपाठी भए पनि नारायण गोपालसँग धेरै कुरा गर्ने मौका भने पाएका थिएनन् उनले । ०१३ सालतिर उनी त्रि–चन्द्र कलेजमा बीए अध्ययनरत छँदा शास्त्रीय संगीतका अग्रज स्रष्टाका रूपमा स्वरसम्राट प्रिय बनिसकेका थिए । थापाको निवास पानीपोखरी र स्वरसम्राटको निवास महाराजगंञ्जबीच खासै दुरी थिएन । झन्डै दिनैपिच्छे देखिने भए पनि स्वरसम्राटसँग उनको मुस्कान मात्र साटासाट भइरहन्थ्यो ।
‘म गाडी कुरिरहँदा उहाँ पेमला भाउजूलाई मोटरसाइकलमा लिएर आउनुहुन्थो । उहाँ मुसुक्क हाँसेर जानुहुन्थ्यो,’ थापा सम्झन्छन् । २०१९ सालमा जमलस्थित राष्ट्रिय नाचघरमा नृत्य निर्देशक भैरवबहादुर थापाको गीति नाटक ‘अस्तित्वको चेतना’ मा दुवैको भेट भयो । ५० वटाभन्दा बढी गीत समावेश गीति नाटकमा थापाले संगीत गरेका चार गीत नारायण गोपालले गाएका थिए । जमलतिर घुम्दै जाँदा संयोगवश नारायण गोपालले नाचघर बोलाएर गीतमा संगीत भर्न आग्रह गरेको क्षणलाई दंग पर्दै थापाले सम्झिए । त्यसपछि झन्डै डेढ महिनासम्म थापाले उनीसँग सांगीतिक सहकार्य गरे ।
बिहीबार ‘नारायण गोपाल संगीत कोष’ ले महाराजगन्जस्थित स्वरसम्राटकै निवासमा गरिएको उनको २९ औं स्मृति दिवस एवं गीत–गंगा भवन शिलान्यासको कार्यक्रममा थापा स्वरसम्राटलाई सम्झेर निकै भावुक पनि बने । पोखराका दृष्टिविहीन गायक केशव सुवेदीले गीतकार दिनेश अधिकारीको रचनामा स्वरसम्राटले गाएको गीत ‘यो सम्झने मन छ...’ गाइरहँदा थापाले नेपाली गीत संगीतका उनै स्रष्टा नारायण गोपाल र उनीसँगै बिताएका क्षणहरूलाई सम्झिए ।
‘संगीतका अमूल्य रत्नलाई हामीले अल्पायुमै गुमायौं,’ उनले भने, ‘उहाँ अझैसम्म जीवितै रहनुभएको भए धेरै सिर्जनाहरूको जन्म हुने थिए ।’ थापाका अनुसार, स्वरसम्राटको निधनसँगै सिर्जनाहरू बन्द भएका छन् । उनले नारायण गोपाललाई संगीतका सर्जकहरूलाई माया गर्ने, सबैलाई समान मित्रवत् व्यवहार गर्ने भएकाले हृदय–सम्राट भनी टिप्पणी गरे ।
कार्यक्रममा संगीतकार राजकुमार श्रेष्ठको अगुवाइमा नारायण गोपालद्वारा गाइएका गीतहरू ‘यति धेरै माया दिई...’, ‘प्रियसीका यादहरू...’, ‘मलाई नसोध...’, ‘तिम्रोजस्तो मुटु...’ लगायतका झन्डै डेढ दर्जन गीतलाई युवापुस्ताका गायक, गायिकाहरू राज सागर, निशा देसार, मदन गोपाल, सम्झना वलीलगायतले गुनगुनाइरहँदा माहोल नै भावुक बनेको थियो ।
स्मृति सभामा सहभागी थापालगायत संगीतकार चेतन कार्की, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, सहरी विकास मन्त्री रामवीर मानन्धर, संगीत कोषका अध्यक्ष तथा साहित्यकार उषा शेरचन, कोषका महासचिव दीपक केसीलगायतले स्वरसम्राटका साथै उनकी पत्नी पेमला गुरुवाचार्यलाई श्रद्धा भाव प्रकट गर्दै तस्बिरमा माल्यार्पण गरे ।
कार्यक्रममा नेपाली आधुनिक गीतसंगीतमा कालजयी गीत, संगीत तथा रचनामार्फत योगदान पुर्‍याएबापत् गीतकार, संगीतकार तथा गायक थापा र संगीतकार रञ्जित गजमेयरलाई २५ हजार रुपैयाँसहित स्वरसम्राट स्मृति सम्मान प्रदान गरियो । अस्वस्थताका कारण
कार्यक्रममा अनुपस्थित गजमेरले अडियो क्लिपमार्फत नै स्वरसम्राटलाई सम्झँदै सम्मानप्रति आभार प्रकट गरे ।
महानगरले भवन बनाइदिने
कार्यक्रममा मेयर शाक्यले नारायण गोपालको योगदानको कदर स्वरूप र नेपाली संगीतको अभिवृद्धिका लागि उनकै निवास रहेको स्थानमा करिब ६ करोड रुपैयाँको लागतमा काठमाडौं महानगरपालिकाले नारायण गोपाल पेमला सुरमय गीत गंगा बनाउने भएको छ । बिहीबार मेयर शाक्यले त्यसको शिलान्यास गरे । शाक्यले सामाजिक, सांस्कृतिक सम्पदाको विकास, कला, साहित्य, संगीतको उत्थानका लागि महानगरको स्थानीय सरकार सधैँ अग्रसर रहेको बताए । कोषका महासचिव केसीले अब छिट्टै नै भवन निर्माण कार्य अगाडि बढाइने बताए ।

कला र शैली

दुवै हातमा लड्डु

- कान्तिपुर संवाददाता

 

अभिनेत्री प्रियंका चोपडाको करिअर एकोहोरो बाटोमा छैन । मोडलिङ हुँदै कलाकारका रूपमा बलिउड छिरेकी उनले आफूलाई गायिकाका रूपमा समेत विस्तार गरिन् । पछि गायिकाकै छवि लिएर अमेरिका पुगेकी प्रियंकाले हलिउडमा समेत पाइला बढाइन् । यतिबेला त फिल्म निर्माणमा समेत आफूलाई सक्रिय बनाउन थालेकी छन् ।
अमेरिकी गायक निक जोनाससँग विवाह गरेपछि प्रियंकाका दिन अझ बलेका छन् । बिहीबार मात्रै उनलाई खुसी बनाउने दुई सफलता हात लागेको छ । पहिलो सफलता, उनले सन् २००६ देखि काम गरिरहेको युनिसेफले प्रियंकालाई मानवतावादी पुरस्कारले सम्मान गरेको छ । दोस्रो, आईएमडीबीमा उनी भारतीय सेलेब्रिटीमा अग्रस्थानमा आएकी छन् । यस वर्ष, सनी लियोनीपछि गुगलमा बढी खोजिएकी महिलाको सूचीमा समेत परेकी प्रियंकाले युनिसेफको सम्मानलाई गर्वसाथ साझेदारी गरिन् । पति निकले समेत प्रियंकाप्रति आफूलाई गर्व लागेको भन्दै आफू हुनुको महत्त्वबोध गराएको भन्दै ट्वीट गरेका छन् ।
३७ वर्षीया प्रियंका व्यावसायिक जीवनबाहेक समाज सेवामा पनि आफूलाई समर्पित गर्दै आएकी छन् । तीन वर्षदेखि युनिसेफको ग्लोबल गुडविल ब्रान्डएम्बेस्डर भई काम गरिरहेकी यी अभिनेत्रीले बालअधिकार, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेकी छन् । शिक्षा र स्वास्थ्य हेर्ने गरी उनले आफ्नै छुट्टै फाउन्डेसन पनि चलाउँदै आएकी छन्, जसमा प्रियंकाले आफ्नो कमाइको १० प्रतिशत यसैमा खर्चिंदै आएकी छन् । उनले बालिकाप्रतिको भारतीय आमधारणा परिवर्तनका लागि ‘सेभ द गर्ल चाइल्ड’ अभियान पनि समानान्तर रूपमा
चलाइरहेकी छन् । सामाजिक न्यायका लागि सन् २०१७ मा मदर टेरेसा स्मृति पुरस्कारसमेत जितिसकेकी प्रियंका समाज सेवालाई कुनै वैकल्पिक काम नभई जीवनको एक अहं हिस्सा हुनुपर्ने बताउँछिन् ।
समाज सेवामा सफलता पाएकी अभिनेत्रीको व्यावसायिक जीवन पनि उकालो चढ्दो छ । आईएमडीबीको प्रो–स्टार मिटर र्‍यांकिङले भारतीय फिल्म र टीभी पर्सनालिटीमा उनलाई पहिलो नम्बरमा सूचीकृत गर्नुले पनि यसलाई पुष्टि गरेको छ । जब कि उक्त सूचीमा अक्षयकुमार र सलमान खानजस्ता चर्चित बलिउड अभिनेता क्रमशः पाँचौं र छैटौं नम्बरमा परेका छन् । सूचीको दोस्रो नम्बरमा भने अभिनेत्री दिशा पटानी र तेस्रोमा हृत्तिक रोशन अटाएका छन् । कियारा आडवाणी चौथो नम्बरमा आएकी छन् । आलिया भट्ट, कट्ररिना कैफ र रकुल प्रित टप
टेनभित्र परेका छन् ।

कला र शैली

बलात्कारीविरुद्ध आक्रोशित सलमान

- कान्तिपुर संवाददाता

भारतीय समाजमा महिला असुरक्षा व्याप्त छ । चाहे त्यो भ्रूण हत्याका नाममा होस् वा बलात्कार र त्यसपछि हुने हत्याको कारण । सार्वजनिक स्थलमै पनि युवतीहरू निर्धक्क हिँडडुल गर्न असहज अवस्था बढ्दै गइरहेको छ । हालै पनि हैदराबादमा एक पशु चिकित्सको बलात्कारपछि जलाएर हत्या भएपछि त्यसले उग्र रूप लिइरहेको छ । भारतीय जनता मात्रै नभई ‘सेलेब्स’ ले पनि घटनाको निन्दा गर्दै अपराधीप्रति आक्रोश व्यक्त गरिरहेका छन् । यसअघि पनि तमिलनाडुमा एक दलित युवती निर्भयाको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो ।
पशु चिकित्सकको बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर बलिउड अभिनेता सलमान खानले रोष व्यक्त गरेका छन् । ‘ती मानवको रूपमा रहेका राक्षस हुन्,’ सलमानले एक पत्रकार सम्मेलनमा आक्रोशित हुँदै भनेका छन्, ‘ती निर्दोष महिलाको पीडा र हत्याले हामी सबैलाई बलात्कारी र हत्याराविरुद्ध एकजुट हुन सघाएको छ ताकि ती सैतानहरूको अब नष्ट गर्न सकियोस् ।’ सलमानले अब फेरि पनि कुनै युवती निर्भया वा पशु चिकित्सकजस्तै विनाकसुर यौन उत्पीडन, बलात्कार वा हत्याको सिकार हुनु र परिवारले पीडा खेप्नु अगावै ती राक्षसहरूलाई खत्तम हुनुपर्ने धारणा राख्दै थपे, ‘अहिलेको यो समय भनेको त्यस्ता राक्षसहरूलाई थाहा होस् कि यस्ता जघन्य अपराधविरुद्ध हामी सबै एक छौं भनेर ।’ भारत सरकारले समेत पछिल्लो समय ‘बेटी बचाओ’ अभियानलाई द्रूत रूपमा अघि बढाएको छ । सलमानले यस अभियानलाई सबैले साथ र सहयोग नगर्ने हो भने केवल अभियानमा मात्रै सीमित रहने र घटनाहरू घटिरहनेतर्फ इंगित गर्दै समाजभित्रका बलात्कारीलाई समयमै चिनेर ठेगान लगाउन सबैमा अपिलसमेत गरेका छन् । उनले अरूको जीवन रक्षा गर्ने चिकित्सककै जीवन असुरक्षा हुनु विडम्बना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पशु चिकित्सक ती युवती आफ्नो काम सकेर रातमा घर फर्किंदै गर्दा बाटोमा स्कुटीको टायर पन्चर भएपछि बहिनीलाई फोन गरेकी थिइन् । उनले आफूलाई डर लागिरहेको र लिन आउन अपिल गरेको केही समयपछि नै बलात्कारको सिकार भएकी
थिइन् । बलात्कारीले उनलाई त्यसपछि जलाएर मारेका थिए । – एजेन्सी

Page 13
Page 14
समाचार

घर नबनाउनेबाट अनुदान फिर्ता लिइने

- कान्तिपुर संवाददाता

(काठमाडौं) - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूचीमा परेकालाई पहिलो किस्ताबापतको रकम बुझ्ने अन्तिम समयावधि पुस मसान्तसम्म निर्धारण गरेको छ । लाभग्राही सूचीमा परेका मध्ये ४० हजार ८ सय ३५ जनाले अनुदान सम्झौता नगरेको र १० हजार २ सयले सम्झौता गरेर पनि पहिलो किस्ता नबुझेको भन्दै प्राधिकरणले अन्तिम समय दिएको हो ।
प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ८ लाख २० हजार ६ सय ९१ घरधुरी लाभग्राही छन् । तीमध्ये ७ लाख ७९ हजार ८ सय ५६ सँग अनुदान सम्झौता गरिएको छ भने ४ लाख ८१ हजारले घर बनाएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा बिहीबार भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले किस्ता बुझेर घर नबनाउनेबाट रकम फिर्ता गरिने बताए । पहिलो किस्ता रकम बुझ्नेमध्ये १ लाखभन्दा बढीले निर्माण सुरु गरेका छैनन् । ‘कुनै न कुनै उपाय निकालेर बुझेको रकम फिर्ता गर्छौं, सरकारी निकायले दिने सुविधा वा कुनै सिफारिस रोक्नेसम्मको उपाय गर्ने तयारीमा छौं,’ उनले भने, ‘यसका लागि पनि पुस मसान्तसम्म समय दिन्छौं ।’
सांसदहरूले राखेको जिज्ञासामा उनले कसैलाई मर्का परेको भए जनप्रतिनिधिबाट सिफारिस गराउने गरी गुनासोको निवेदन दिने अवसर यसअघि नै दिइएको जानकारी दिए । समितिकी सभापति शशि श्रेष्ठका अनुसार प्राधिकरणले अहिलेसम्म गरेको कामको जानकारी लिने र आवश्यक परे निर्देशन दिने उद्देश्यले छलफल गरेको थियो । ज्ञवालीका अनुसार जनप्रतिनिधि आइसकेपछि दोस्रो चरणमा गरिएको सर्वेक्षण र पुनः जाँचअन्तर्गत २ लाख २९ हजार ४ सय १० धुरीको निवेदन प्राप्त भएकामा ६५ हजारको छानबिन भइसकेको छ । प्राप्त निवेदनमध्ये लगभग २० प्रतिशत मात्र वास्तविक पीडित देखिएका छन् । अब १ लाख २४ हजार २ सय ३९ निवेदनमाथि छानबिन भइरहेको छ । प्राधिकरणले फेरि गुनासोको निवेदन नलिने भएको छ । साँच्चै मर्का परेको भए उच्च अदालतका न्यायाधीशसमक्ष गुनासोको निवेदन दिन सक्ने प्रावधान बनाइएको छ । ‘अति प्रभावित १४ र अन्य १८ जिल्लाका पीडितले अदालतमा निवेदन दिन सक्नेछन्,’ ज्ञवालीले भने ।
पहिलो किस्ता बुझेर पनि घर नबनाएका विपन्न, एकल महिला, जोखिममा परेका र वृद्धवृद्धाका लागि प्रोत्साहनस्वरूप थप ५० हजार उपलब्ध गराउने नीति रहेको उनले बताए । उनीहरूलाई घर निर्माणमा सघाउन प्राधिकरणले ९ सय निर्माणकर्ता र गाउँपालिकामा एक–एक जना सामाजिक परिचालक खटाएको छ । प्राधिकरणले ६२ प्रतिशत निर्माण पूरा भएको र २४ प्रतिशत निर्माणको चरणमा रहेको जानकारी दिएको छ । प्राधिकरणले गोरखाको बारपाक र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको गौरातीमा भूकम्प स्मारक पार्क बनाइरहेको जानकारी दिएको छ ।
धरहरा एक वर्षमा बन्ने
सांसदहरूको जिज्ञासामा कार्यकारी अधिकृत ज्ञवालीले धरहरा बढीमा एक वर्षमा निर्माण पूरा हुने बताए । ‘म समितिमा रेकर्ड गराउँछु, तोकिएकै समयमा बन्छ,’ उनले भने । बैठकमा सांसदहरू कृष्णगोपाल श्रेष्ठ, दिलेन्द्रप्रसाद बडू, मीना पाण्डेले अहिलेकै रफ्तारमा काम भए धरहरा १० वर्षमा पनि बन्दैन भन्दै प्राधिकरणको आलोचना गरेपछि ज्ञवालीले उक्त प्रतिबद्धता जनाएका हुन् । श्रेष्ठले धरहरा तोकिएको समयमा बन्छ भन्नु नचाहिने कुरा बताएका थिए । ज्ञवालीले २ सातामा १ तला ढलान गर्ने कार्ययोजना बनाएको छ । सांसदहरूले भने त्यो रफ्तारमा निर्माण नभएको दाबी गरेका छन् ।

समाचार

'सीमा समस्या समाधान परराष्ट्र सचिवस्तरीय संयन्त्रबाटै'

- कान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी क्षेत्रलगायतमा भएको सीमा विवाद परराष्ट्र सचिवस्तरीय संयन्त्रबाटै समाधान होस् भन्ने नेपालले चाहेको बताएका छन् । भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको कालापानीसमेत पुनः देखाएपछि चर्केको विवाद सुल्झाउन ‘विशेष दूत’ पठाउने खबर सार्वजनिक भएका बेला उनले नेपालको प्राथमिकता सचिवस्तरीय संयन्त्र नै भएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष दूतका रुपमा पठाउन लागेको भनिए पनि मन्त्री ज्ञवालीले त्यसबारे निर्णय भइनसकेको बताए । ‘कतिपय अवस्थामा सरकारका तर्फबाट खटाइने विशेष दूतको बहुआयामिक पहुँच र प्रभावको अर्थ पनि रहन सक्छ भनेर विकल्प हेरिनु स्वाभाविक हो, अहिले हामीले दुवै पक्षले सहमति जनाएको सचिवस्तरीय संयन्त्रमार्फतको पहललाई प्राथमिकतामा राखेका छौं,’ मन्त्री ज्ञवालीले भने । हालै रुसको भ्रमणबाट फर्केका मन्त्री ज्ञवालीसँग कान्तिपुरका देवेन्द्र भट्टराई र दुर्गा खनालले बिहीबार गरेको कुराकानीको सम्पादित अंश :

कालापानी लगायतमा भएको सीमा विवाद सार्वजनिक भएको लामो समय बित्दा पनि सरकारले परिणाम देखिने पहल गर्न सकेको छैन नि ?
भारतले गत कात्तिक १६ मा नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि हामीले क्रमबद्ध रूपमा आवश्यक कदम चालिरहेकै छौं । नक्सा सार्वजनिक भएलगत्तै परराष्ट्र मन्त्रालयले असहमति जनाएर त्यो भूभागप्रति स्वाभाविक दाबी राख्दै प्रतिक्रिया जनाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय र सर्वपक्षीय बैठक गर्नुभयो, त्यसमा अभूतपूर्व राजनीतिक सहमति भयो । समस्या समाधान गर्ने ऊर्जा थियो त्यो । त्यसपछि, कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने सरकारको चाहना, तत्परता र तदारुकताबारे ध्यानाकर्षण गराउँदै भारतलाई ‘कूटनीतिक नोट’ पठाइसकेका छौं । परराष्ट्र सचिवस्तरीय संयन्त्र बैठकको प्रस्तावित मिति र स्थानसहित भारत सरकारलाई पत्राचार गरेका छौं । प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै कालापानीमा भारतीय सेनाको उपस्थितिप्रति नेपालको असहमति रहेको र त्यहाँबाट सेना फिर्ता जानुपर्ने सरकारको धारणा राखिसक्नुभएको छ । विभिन्न तह र उपायबाट अनौपचारिक संयन्त्रलाई पनि परिचालन गरिरहेका छौं । यो दिशामा सरकारले चाल्नुपर्ने सबै प्रकारका कदम अघि बढाइसकेको छ, यसको परिणाम चाँडै आउनेमा विश्वस्त छु ।
तैपनि कालापानीसहितको भूभागमा भारतीय पक्षको धारणा उस्तै देखिएको छ । नेपाल सरकारले वार्ता र संवादका लागि गरेको पहलको अर्थ देखिएको छैन नि ?
त्यसो होइन । हामी भारत सरकारको आधिकारिक जवाफको पर्खाइमा छौं । छिट्टै औपचारिक र अनौपचारिक दुवै तहमा संवाद अघि बढ्ने सम्भावना देखिएको छ । औपचारिक कूटनीतिक प्रक्रिया तत्काल सुरु भए पनि असन्तुष्टि बाहिर देखापर्न सक्छ भनेर हामी सचेत छौं । भारतसँग २/३ वर्षयता जसरी उच्चस्तरका समझदारी र विकास साझेदारी बन्दै गएका छन्, यो गतिलाई हामी निरन्तरता दिन चाहन्छौं । कालापानीसहितको सीमासम्बन्धी विवाद इतिहासले गिजोलेको र विगतमा नसल्टिएको विषय हो । भारतले नेपालसँगको भन्दा जटिल बंगलादेशी सीमा विवादलाई सल्टाएको छ । उसका लागि नेपालसँगको समस्या सल्टाउने उपयुक्त अवसर आएको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रधानमन्त्री ओलीको विशेष दूत बनाएर दिल्ली पठाउन लागिएको सूचना बाहिर आयो । यो तहको संवाद गर्ने निर्णय भएको हो र ?
त्यसरी निर्णय भएको होइन । तर अनौपचारिक तह र विभिन्न उपायबाट छलफल अघि बढाउने निर्णय भएको हो । कतिपय अवस्थामा सरकारका तर्फबाट खटाइने विशेष दूतको बहुआयामिक पहुँच र प्रभावको अर्थ पनि रहन सक्छ भनेर विकल्प हेरिनु स्वाभाविक हो । यसलाई अन्यथा भन्न मिल्दैन । अहिले हामीले दुवै पक्षले सहमति जनाएको सचिवस्तरीय संयन्त्रमार्फत समस्या समाधानको पहललाई प्राथमिकता राखेका छौं ।
पछिल्लो पटक यो संवेदनशील मामिला उब्जिएको एक महिना हुनै लागेको छ । विगतमा पनि सचिवस्तरीय संयन्त्रले खासै प्रभावकारी काम गर्न सकेको देखिँदैन । यो संयन्त्र बैठक डिसेम्बर (पुस दोस्रो साता) भित्रै बस्न सक्ने सम्भावना छ ?
सम्भावना छ । जतिसक्दो चाँडो सल्टाउन नसके यो मुद्दा सडकमा पुग्न सक्छ भनेर हामीले सबै तह–तप्काबाट प्रयास गरिरहेका छौं ।
द्विपक्षीय सीमा, नक्सा आदिबारे कतिपय महत्त्वपूर्ण कागजात हाम्रो अभिलेखालयमा छन् । द्विपक्षीय संवाद र छलफलको कुरा उठिरहेका बेला पनि त्यस्ता अर्थपूर्ण कागजातको अध्ययन हुन सकेको छैन । परराष्ट्रले लाहाछाप लगाएर राखेका ती कागजातको प्रयोजन यो बेला नभए कहिले हुन सक्छ ?
अभिलेखालयमा रहेका सामग्री राष्ट्रको सम्पत्ति हो । परराष्ट्रले ती दुर्लभ र प्रामाणिक दस्तावेजको ‘इन्भेन्ट्री’ तयार गरिरहेको छ । तर अहिले कतिपय कागजात सुरक्षा (प्राविधिक) तथा संवेदनशीलताका कारण सार्वजनिक गर्न मिल्दैन । यसमा अभिलेख सुरक्षा हुने पद्धति अपनाउने र सकेसम्म ‘डिजिटलाइज’ गर्ने तथा ई–लाइब्रेरीमा राख्ने अवस्थासम्म पुगे ती सामग्री सबैले हेर्न पाउँछन् । आवश्यक परे ‘माइक्रोफिल्मिङ’ गर्ने तहसम्मको काम हुनेछ ।
तपाईं भर्खरै रुस गएर फर्कनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमण तत्काल हुने सम्भावना देख्नुभएको छ ?
तत्कालै यसबारे केही भन्न सकिँदैन । विगतमा लामो द्वन्द्व र संक्रमण हुनुका साथै देशभित्रै राजनीतिक स्थिरतासमेत नभएका कारण नेपालले अन्तर्राष्ट्रिय तहमा संलग्नता, सहभागिता र सक्रियता देखाउन सकेको थिएन । भारतबाट प्रधानमन्त्री तहमा नेपाल भ्रमण हुन १७ वर्ष लाग्यो, चीनबाट राष्ट्रपति तहमा भ्रमणमा आउन २३ वर्ष लाग्यो । नेपालका प्रधानमन्त्री बेलायत भ्रमणमा जान १८ वर्ष लाग्यो, फ्रान्स भ्रमणमा जान १८ वर्ष लाग्यो । नेपालको परराष्ट्रमन्त्रीले अमेरिकाको विदेशमन्त्री भेट गर्न १७ वर्ष लाग्यो । हामी साँच्चै ‘लो प्रोफाइल’ मा बसेका थियौं, रहेछौं । चीन तथा बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणपछि स्वाभाविक रूपमा अरू शक्तिराष्ट्रका प्रमुख नेपाल भ्रमणमा आउने क्रम सुरु भएको आकलन गरिएको छ । मैले रुस भ्रमणका क्रममा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट रुसी समकक्षीसम्म पुग्ने गरी नेपाल भ्रमणको निमन्त्रणा दिएको छु । रुस सरकारको उच्च तहबाट निकट भविष्यमा नेपाल भ्रमण हुने आशा एवं अपेक्षा गरेका छौं ।
आगामी अप्रिलमा काठमाडौंमा हुने अन्तर्राष्ट्रियस्तरको ॅसगरमाथा संवाद’ को सहभागिताबारे केही टुंगो
लागेको छ ?
हामीले निमन्त्रणा पठाएका छौं । सगरमाथा संवादको विस्तृत कार्यक्रम र आगन्तुक अतिथिको अन्तिम सूची चाँडै निर्क्योल हुनेछ । कम्तीमा १५ देशका प्रमुख, ४० भन्दा बढी देशबाट उच्चस्तरीय राजनीतिक प्रतिनिधित्व र राष्ट्रसंघीय निकायको पनि उच्चस्तरको सहभागिता रहने अपेक्षा छ । यस पटक तोकिएको जलवायु परिवर्तनको विषयमा १५० भन्दा बढी विदेशी विज्ञ र ५० जति नेपालीविज्ञ संवादमा सहभागी रहनेछन् ।
केही देशका लागि राजदूत नियुक्त हुन सकेका छैनन्, प्रधानमन्त्रीको स्वास्थ्यका कारण बैठकहरू पनि बस्न सकेका छैनन् । कहिले हुन्छ ?
यससँग प्रधानमन्त्रीको स्वास्थ्यको सम्बन्ध छैन । गणतन्त्र कोरिया, श्रीलंकामा राजदूत रिक्त छन् । हामी छिट्टै नियुक्त गर्छौं । संवैधानिक आयोगहरू नियुक्तिमा प्रतिपक्षले अप्ठेरो पारेको छ । संविधानको भावनाचाहिँ प्रतिपक्षसँग साथ लिएर आयोगहरूमा नियुक्त होस्, कार्यकारीको नियन्त्रण र एकलौटी नियन्त्रण नहोस् भन्ने हो । यसको अर्थ प्रतिपक्षले गैरजिम्मेवार भएर बैठक रोकोस् भन्ने होइन । कतिपय विषयमा हामी प्रक्रियामा छौं ।
अन्तिम समयमा ई–पासपोर्ट छाप्ने टेन्डर किन रद्द भयो ? अबको आठ–दस महिनापछि पासपोर्टको समस्या आउने सम्भावना छ नि ?
हामीले ई–पासपोर्टमा जाने निर्णय गरिसकेका छौं । एमआरपी एक किसिमले फेजआउट भएको छ । सुरक्षण मुद्रणका सम्बन्धमा केही ठोस निर्णय हुन लागेको छ । क्याबिनेटको केही दिन अघिको बैठकले ‘जीटूजी’ प्रक्रियाबाट आफ्नै सुरक्षण मुद्रण लिने निर्णय गरेको छ । छिट्टै आफ्नै सुरक्षण मुद्रणको सम्झौता हुन्छ । त्योसँगै निश्चित पासपार्टको सेवा लिनेछौं । हामी पहिलो चरणमै पासपोर्ट छाप्छौं । पासपोर्टको अभावको समस्या हुनेछैन ।

समाचार

वार्ता गर्न भारत अनिच्छुक

कालापानी विवाद
- सुरेशराज न्यौपाने

(नयाँदिल्ली) - भारतको नयाँ राजनीतिक नक्साका कारण सतहमा आएको कालापानी विवादका सम्बन्धमा तत्काल वार्ता गर्न भारत अनिच्छुक देखिएको छ । नेपालले दुई साताअघि सीमा विवादका सम्बन्धमा औपचारिक छलफलका लागि बैठकको समय मिलाउन भारतसँग आग्रह गरे पनि भारतले कुनै प्रतिक्रिया जनाएको छैन ।
भारतले उत्तर जम्मुकश्मीरलाई दुई केन्द्रशासित राज्यमा विभाजन गरेर २ नोभेम्बरमा जारी गरेको नक्सामा कालापानी क्षेत्रलाई आफ्नोपट्टि समावेश गरेको भन्दै नेपालमा विरोध भइरहेको छ । प्रतिपक्षी र सत्तारुढ दलबाटै विरोध भएपछि परराष्ट्र मन्त्रालयले सीमा समस्या समाधानका लागि दुवै देशका परराष्ट्र सचिवहरूलाई काम गर्ने जिम्मेवारी दिएको थियो ।
यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय भेला डाकेका थिए । भेलाले लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको भन्दै नक्साप्रति असहमति प्रकट गरेको थियो । बैठकले नेपालको न्यायोचित भूभाग फिर्ता लिनका लागि तत्काल उच्च राजनीतिक स्तरमै भारतसँग वार्ता थाल्न पनि सरकारलाई सुझाव दिएको थियो । नेपालले ‘डिप्लोमेटिक नोट’ नै पठाएर भारतको नयाँ राजनीतिक नक्साप्रति औपचारिक विरोध जनाएको थियो । नोट पठाएको साता दिन नबित्दै परराष्ट्र मन्त्रालयले संयन्त्रको बैठक चाँडो डाक्न जोड दिँदै पहल गर्न भारतलाई आग्रह गरेको थियो ।
परराष्ट्र सचिवस्तरीय संयन्त्र नेपाल र भारतबीच सीमासम्बन्धी विवाद समाधानका लागि गठन गरिएको सबैभन्दा माथिल्लो संयन्त्र हो । नेपाल र भारतबीच सीमांकनसम्बन्धी विवाद समाधान लागि प्राविधिक तहदेखि उच्च सरकारी तहसम्म पहल भए पनि कालापानी र सुस्तालगायत क्षेत्रमा सीमांकनको विवाद सुल्झिएको छैन । सन् २०१४ मा सम्पन्न नेपाल र भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको बैठकमा प्राविधिकहरूको सुझावका आधारमा विदेश सचिवस्तरबाट विवाद टुंग्याउने निर्णय भएको थियो । उक्त बैठकमा भारततर्फबाट विदेशमन्त्री सुष्मा स्वराज सहभागी थिइन् । तर, त्यसयता कालापानी र सुस्ताको सम्बन्धमा कुनै प्रगति भएको छैन । गत भदौमा काठमाडौंमा सम्पन्न पाँचौं मन्त्रीस्तरीय बैठकले पनि थाती रहेका सीमासम्बन्धी विवादलाई विदेश सचिवस्तरमा टुंग्याउन निर्देशन दिएको थियो ।
नयाँ नक्साका कारण विवाद सुरु भएपछि भारतको विदेश मन्त्रालयले नेपालको तर्फबाट बैठकका लागि औपचारिक पहल भए प्रक्रिया सुरु हुने जनाएको थियो । ‘औपचारिक रूपमा आग्रह भएपछि दुवै पक्षको सहमतिमा अनुकूलता हेरेर बैठक हुनेछ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले भनेका थिए । तर नेपालले औपचारिक रूपमै बैठकका लागि आग्रह गरे पनि भारतले चासो देखाएको देखिँदैन । यससम्बन्धमा कान्तिपुरले जिज्ञासा राख्दा भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले नेपाली पक्षबाट बुझ्न आग्रह गरे ।
भारतले यसअघिका नक्सामा पनि कालापानी क्षेत्रलाई एकपक्षीय रूपमा आफ्नो भूभागमा समावेश गर्दै आएको थियो । जबकि नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई सप्रमाण आफ्नो दाबी गर्दै आएको छ । सन् १९६२ को चीनसँगको लडाइँपछि भारतले कालापानी क्षेत्रमा सैनिक चौकी राखेपछि उक्त क्षेत्र थप विवादित बन्दै आएको हो । नेपाली पक्षले भारतले उल्टो काली नदीभन्दा धेरै वर कृत्रिम नदी बनाएर त्यसैलाई नेपाल र भारतबीच सीमा कायम गर्ने काली नदी बताउँदै आएको र त्यही आधारमा कालापानी र लिपुलेक क्षेत्रको पूरै भूभागमा आफ्नो नियन्त्रण कायम गरेको आरोप लगाउँदै आएको छ ।

Page 15
समाचार

ब्राजिलमा बसेर अवैध बाटो अमेरिका पठाउँदै

- कान्तिपुर संवाददाता

(काठमाडौं)  - अवैध बाटो अमेरिका पठाउने धन्दामा ब्राजिलमा बसेका नेपाली एजेन्ट सक्रिय रहेको पाइएको छ । ब्राजिलियन केटी बिहे गरेर उतै बसेका पर्वत स्थायी घर भएका नवराज रेग्मीले अवैध रूपमा मेक्सिको हुँदै अमेरिका पठाउने धन्दा चलाएको खुलेको हो ।
नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार नवराजले थुप्रै व्यक्तिलाई अवैध बाटोबाट अमेरिका पुर्‍याउने भन्दै लाखौं रुपैयाँ असुलेको सूचना संकलन भएको छ । ब्युरोले मानव तस्करको गिरोहद्वारा दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई कात्तिक २६ मा उद्धार गर्ने क्रममा त्यहाँ अन्य सात नेपालीसमेत रहेको र तीमध्ये तीन जना ब्राजिल पुगिसकेको पत्तो पाएको थियो । मानव तस्करको सहयोगले उनीहरू ब्राजिल पुगेको र त्यसमा नेपाली एजेन्ट सक्रिय रहेको सूचना पाएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो ।
कान्तिपुरलाई विभिन्न स्रोतबाट प्राप्त कागजातका अनुसार नवराजले २०१८ अप्रिलमा अर्जुन खड्कालाई अवैध रूपमा अमेरिका लैजाने भन्दै ३० लाख रुपैयाँ असुलेका थिए । काठमाडौंबाट दिल्ली, ब्राजिल, पेरु, पानामा, निकारागुवा, ग्वाटेमाला, होन्डुरस हुँदै मेक्सिकोबाट अमेरिका छिरेका अर्जुन अमेरिकाबाट डिपोर्ट भएका थिए । नेपालबाट हिँडेको १८ महिनामा नेपाल फर्केका अर्जुनले यो अवैध यात्रामा ३० लाखभन्दा बढी गुमाएका थिए । ब्युरोले यो घटनाको मुख्य सूत्राधार नवराज भएको भन्दै उनीमाथि अनुसन्धान केन्द्रित गरिरहेको छ ।
अवैध रूपमा अमेरिका छिरेका पर्वत, कुस्माका बुद्ध गुरुङ पनि २०१९ अगस्ट २७ मा डिपोर्ट भएका थिए । प्रहरी स्रोतका अनुसार बुद्धलाई अवैध रूपमा अमेरिका छिराइदिने भन्दै नवराजले झन्डै ३२ लाख रुपैयाँ असुलेका थिए । नेपालबाट दुबई, मस्को, जर्मन, ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुगेर अवैध रूपमा अमेरिका छिरेका उनी अध्यागमनको महिनौं लामो थुनापछि नेपाल डिपोर्ट भएका थिए । आवासीय अनुमति लिएर बसेका नवराजले भारतीय, पाकिस्तानी र बंगलादेशी एजेन्टबाट विभिन्न देश हुँदै अफ्रिका पुगेकाहरूलाई पुरानो एजेन्टबाट छुटाएर आफ्नो सम्पर्कमा लिँदै आएका छन् । मानव तस्करीको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार यस्तो अवस्थामा पीडितहरू दुवै एजेन्टको दोहोरो टार्गेटमा पर्ने खतरा रहन्छ ।

समाचार

'कालापानीको समस्या अन्तर्राष्ट्रियकरण गर्नु हुँदैन'

- कान्तिपुर संवाददाता

धनगढी (कास)– नेकपा अध्यक्ष पुष्पकमल दाहालले कूटनीतिक माध्यमबाटै कालापानीसम्बन्धी सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । सुरुमै अन्तर्राष्ट्रियकरण गरेर समस्यालाई थप जटिल बनाउन नहुने उनको भनाइ छ । ‘सरकारले भारतलाई पत्र पठाएर समस्या समाधानका लागि कूटनीतिक पहल थालिसकेको छ,’ धनगढीमा बिहीबार पत्रकारसँगको भेटमा उनले भने, ‘परिस्थिति झन् जटिल बनाउनु हुन्न ।’ सरकारले पठाएको पत्रको उत्तर पर्खनुपर्ने उनले बताए । केही दिनअघि नेपालका लागि पूर्वराजदूत श्यामशरणले कालापानीको सवाललाई राजनीतीकरण गर्न नहुने भनी दिएको अभिव्यक्ति जायज नभएको दाहालको भनाइ छ ।

समाचार

दाहाललाई देउवाको बधाई

- बिनु सुवेदी
शेरबहादुर देउवा, पुष्पकमल दाहाल

(काठमाडौं) - कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको कार्यकारी अध्यक्ष भएकोमा पुष्पकमल दाहाललाई बधाई दिएका छन् । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको पन्ध्रौं दिन बिहीबार दाहाल प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए ।
‘दाहाल कार्यकारी अध्यक्ष भएपछि सभापतिसँग एक्लै भेटेको पहिलो पटक हो,’ भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने, ‘उहाँहरूबीच शिष्टाचार भेट भयो, सामान्य कुराकानी भयो ।’ भेटमा देउवाले दाहालसँग प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेका थिए । दाहालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जानकारी देउवालाई गराएका थिए ।
भेटमा दाहालले आफूले पार्टीमा कार्यकारी अध्यक्षको हैसियत पाएको र सबै राजनीतिक दलसँग मिलेर अघि बढ्ने बताएका थिए । राष्ट्रिय हितका विषयमा सबै दल एक हुनुपर्ने भन्दै सघाउनसमेत आग्रह गरेका थिए ।
भेटमा देउवाले राष्ट्रहितका विपक्षमा आफू कहिल्यै नजाने तर सरकारले पनि विपक्षीलाई पेल्न नहुनेमा जोड दिएका थिए । केही समयअघि भारतीय पक्षबाट अतिक्रमणका परेको पश्चिम नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबारे दाहाल र देउवाबीच सार्वजनिक कार्यक्रममै जुहारी चलेको थियो । संवैधानिक आयोगहरूमा पदपूर्तिका लागि सरकारले ल्याउन लागेको अध्यादेशबारे पनि कांग्रेस असन्तुष्ट छ ।
देउवा र दाहालबीच सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोगहरूमा पदपूर्ति, विधेयक निर्माणलगायत विषयमा पनि छलफल भएको दाहाल निकट स्रोतले जनाएको छ । ‘संक्रमणकालीन न्याय निरूपण ढिलो हुनुहुन्न भन्नेमा दुवैको जोड छ,’ दाहाल निकट नेकपाका एक नेताले भने, ‘छिटो गरेर टुंगो लगाऔं भन्नेमा उहाँहरू सहमत हुनुभयो ।’ यस्तै संक्रमणकालीन न्याय निरूपणसम्बन्धी ऐन बनाउने विषयमा दुई दलबीच सहमति भएर पीडितबाट रायसुझाव संकलनका लागि सातै प्रदेशमा जाने निर्णय भएको थियो । ‘यसअघि पार्टीको अध्यक्ष मात्रै र द्वन्द्वकालीन मुद्दामा उस्तैउस्तै स्थितिमा भएको नेताका हैसियतमा उहाँहरूबीच छलफल हुन्थ्यो,’ ती नेताले भने, ‘बिहीबार भने कार्यकारी भूमिकासहितको अध्यक्षका हैसियतमा भेट भयो ।’ उनका अनुसार दाहाल आफैंले फोन गरेर देउवालाई भेट्न पुगेका थिए । उनीहरूबीच बिहान करिब आधा घण्टा छलफल भयो । बुधबार सचिवालय बैठक राखेर चुनावी समीक्षाका लागि तल्लो तहमा सर्कुलर पठाउने निर्णय गरेलगत्तै दाहाल फ्रेस हुन भन्दै परिवारसहित भक्तपुरको एक रिसोर्टमा पुगेका थिए । बिहीबार बिहान त्यहाँबाट फर्किएपछि उनी देउवालाई भेट्न गएका हुन् । त्यसलगत्तै दाहाल धनगढी पुगे ।
दाहाल कार्यकारी अध्यक्षको भूमिकामा आएपछि उनले आन्तरिक तथा बाह्य भेटघाट र देश दौडाहालाई तीव्रता दिएका छन् । पार्टी जिम्मेवारीमा दुई अध्यक्षको स्पष्ट कार्यविभाजन नहुँदा काम गर्न नपाएको गुनासो गर्दै आएका दाहालले जिम्मेवारी बाँडफाँटपछि आफूलाई काम गर्न सजिलो भएको बताएका छन् । कार्यविभाजनसँगै दाहालसँग पार्टीको आन्तरिक विषयमा छलफल गर्न चाहने नेता–कार्यकर्ताको संख्या बढेको दाहाल निकटस्थहरूको भनाइ छ ।

समाचार

भ्रमण वर्षबारे नकारात्मक प्रचार नगरौं : पर्यटनमन्त्री

- कान्तिपुर संवाददाता

(काठमाडौं) - भम्रण वर्ष २०२० नजिकिँदै छ । यसै मेसोमा बिहीबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सबै राजनीतिक दल, तिनका भ्रातृसंगठनका नेतालाई सिंहदरबारमा बोलाएका थिए । उनले छलफलबाट सिर्जनात्मक एवं सकारात्मक सुझावको अपेक्षा राखेका थिए । सुरुमै उनले सबैलाई भ्रमण वर्षबारे गाउँगाउँमा जागरण फैलाउन अनुरोध पनि गरेका थिए तर छलफलमा बोल्ने धेरैले सुझाव दिनुभन्दा पनि अझै केही नभएको, भत्केबिग्रेकै अवस्था रहेको र पूर्वाधार
अभावका विषय दोहोर्‍याइरहे ।
सुझाव र टिप्पणी सुनेपछि सबै समस्यामा आफ्नो ध्यानाकर्षण भएको मन्त्री भट्टराईले बताए । ‘हामी सधैं समस्याका गीत गाइरहेका छौं तर यो समाधान होइन । हामीले नगरे कल्ले गर्ने ?,’ उनले भने, ‘राजनितिक दलका विकल्प राजनीतिक दल नै हुन् । समाजमा कुनै नयाँ अवतार आएर समस्याको समाधान हुँदैन ।’ भ्रमण वर्षबारे कसैले पनि नकारात्मक प्रचार नगरिदिन उनले आग्रह गरे ।
छलफलमा उनले यात्रुले विमानस्थलमा झेल्नुपरेका समस्या र तिनका प्रतिक्रियाबारे चर्चा गरेका थिए । विमानस्थलमा ड्युटीका क्रममा कर्मचारीहरूले ढिलासुस्ती गरेर सामाजिक सञ्जालमा बसेको गुनासो आफूले सम्बोधन गरेको उनले बताए । ‘एयरपोर्ट ड्युटीका क्रममा फेसबुक चलाउन पाइँदैन । फोन उठाउन पाइँदैन,’ भट्टराईले भने, ‘तर एक महिला कर्मचारीले फोन चलाइरहेको भिडियो करिब एक हजार जनाले मलाई सामाजिक सञ्जालमा ट्याग गरे ।’ घटनाबारे विरोध भएपछि आफूले ती कर्मचारीलाई अन्यत्रै सरुवा गरिदिएको उनले जानकारी दिए ।
केही घटनालाई प्रतिनिधि मानेर मुलुकबारे नकारात्मक प्रचार भइरहेकामा उनले चिन्ता व्यक्त गरे । बुधबार मात्रै आफूले तीन दर्जनभन्दा बढी मुलुकका राजदूत तथा प्रतिनिधिसँग भ्रमण वर्षकै बारेमा अन्तर्क्रिया गरेको सुनाउँदै उनले भने, ‘विदेशीले मुक्तकण्ठले हाम्रो प्रशंसा गर्ने ? स्वदेशीले भने विरोध गर्ने ? यस्तो सुहाउन्न ।’

समाचार

प्रभावितलाई उचित मुआब्जा दिन कांग्रेसको माग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेसले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितहरूलाई उचित मुआब्जा दिई आयोजना निर्माण हुने वातावरण सुनिश्चित गर्न सरकारसित माग गरेको छ । आयोजनाले सोमबार सार्वजनिक गरेको मुआब्जा रकमप्रति असहमति जनाउँदै प्रभावितहरू आन्दोलनमा उत्रिएपछि कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरी सरोकारवाला सबैलाई विश्वासमा लिए पुनः न्यायोचित मुआब्जा दिन माग गरेको हो ।
बूढीगण्डकी जलविद्युत् आयोजनाले आरुघाट र खहरे बजार क्षेत्रको जग्गालाई १० वर्गमा विभाजन गरेर प्रतिआना ५० हजारदेखि ७ लाख रुपैयाँसम्म मुआब्जा तोकेको छ । ‘विकास परियोजनाहरू सञ्चालन गर्न स्थानीय बासिन्दालाई विश्वासमा लिइनुपर्ने विषय सामान्य ज्ञानको दायराभित्रकै विषय हो । स्थानीय बासिन्दासँग पर्याप्त छलफल गरेर पुनः न्यायोचित मुआब्जा निर्धारण गर्न सबै जिम्मेवार पक्षलाई कांग्रेस आग्रह गर्छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

समाचार

‘इराकमा कार्यरत नेपाली सुरक्षित’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपालका लागि इराकका गैरआवासीय राजदूत फलाह अब्लुल्हसन अब्दुलसदाले इराकमा कार्यरत नेपाली सुरक्षित रहेको बताएका छन् । इराकको सुरक्षा व्यवस्थापन सुदृढ पार्ने काममा नेपालीको विशेष योगदान रहेको उनको भनाइ छ । गृहमन्त्री रामबहादुर थापासित बिहीबार भएको भेटमा उनले भने, ‘नेपालीहरूको योगदानलाई इराकले निकै महत्त्वका साथ लिएको छ ।’
राजधानी बग्दादस्थित कूटनीतिक नियोगहरूको सुरक्षामा नेपाली रहेको राजदूत अब्दुलसदाले बताए । उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका थिए ।
गृहमन्त्री थापासँगको भेटमा उनले नेपाल आउने इराकीलाई भिसा प्राप्तिमा सरलीकरण गरिदिन गृहमन्त्री थापालाई आग्रह गरेका थिए । थापाले इराकमा कार्यरत नेपालीको सुरक्षाप्रति चासो जनाएको थापाका प्रेस सल्लाहकार किरण भट्टराईले बताए ।
नेपालले ०६७ मा इराकलाई प्रतिबन्धको सूचीबाट हटाए पनि कानुनी रुपमा कामदार पठाएको छैन । गैरकानुनी रूपमा अझै पनि झन्डै २५ हजार नेपाली त्यहाँ कार्यरत छन् । ०६१ भदौ १६ मा इराकमा १२ नेपालीको हत्या भएपछि सरकारले रोजगारीका लागि इराक जान प्रतिबन्ध
लगाएको थियो ।
हाल ओसिस, एभीए इन्टरनेसनल, इकोलग, जीसीसी, सिर्का, पीपआई, डी एन्ड पी, रिनिलसेन्स, टोइफर एफेक्स र यूआरएसलगायत कम्पनीमा नेपाली कार्यरत छन् ।

Page 16
समाचार

न्यायाधीश बन्न न्यायपरिषद्बाट राजीनामा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सर्वोच्च अदालतमा न्यायाधीश बन्न न्यायपरिषद्का सदस्य पदम वैदिकले राजीनामा दिएका छन् । न्यायपरिषद् सदस्यले बुझाएको राजीनामा स्वतः स्वीकृत हुने संवैधानिक व्यवस्था छ ।
गत मंगलबारको न्यायपरिषद् बैठकमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सदस्य वैदिककै चर्चा चलेपछि उनको भूमिकामा प्रश्न उठेको थियो । त्यसपछि उनले न्यायपरिषद् सदस्यबाट राजीनामा दिएका हुन् । ‘आफैं सदस्य भएर आफ्नो नाम कसरी सिफारिस गर्नुहुन्छ भन्ने प्रश्न उठेको थियो, त्यसलाई अनुकूल हुने गरी राजीनामा गरेको हुनुपर्छ,’ न्यायपरिषद्का एक सदस्यले भने । राजीनामालगत्तै बसेको न्यायपरिषद् बैठकले सर्वोच्चमा रिक्त एक न्यायाधीशको नाम सिफारिस गर्न भने सकेन । स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वैदिकको नाम प्रस्ताव गरे पनि कानुनमन्त्री उपेन्द्र यादव, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कार्कीले आपत्ति जनाएपछि सिफारिस नभएको हो । प्रधानन्यायाधीश जबराले वैदिकको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्न प्रस्ताव गर्दा सुरुमा कानुनमन्त्री यादवले आपत्ति जनाए पनि पछि विरोधको स्वर ‘नरम’ बनाएको परिषद् स्रोतले बतायो । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा प्रधानन्यायाधीशले वैदिकको नाम प्रस्ताव गरेको स्रोतको दाबी छ । न्यायाधीश कार्कीले भने वैदिकको नाम सिफारिस गरे ‘फरक मत लेख्छु’ भनेर चेतावनी दिएका थिए ।

 

Page 17
अर्थ वाणिज्य

ऋण विस्तार सुस्त

ऋणको आकार पहिल्यै ठूलो, थप लगानी गर्नका लागि पर्याप्त पुँजीको अभाव
- कान्तिपुर संवाददाता

(काठमाडौं) - बैंक तथा वित्तीय संस्थाद्वारा हुने लगानी विस्तारदर पछिल्ला वर्षमा साँघुरिँदै गएको छ । ऋण बजारमा पहिल्यै उच्च वृद्धि भएको र बैंक तथा वित्तीय संस्थासँग थप लगानी गर्नका लागि पर्याप्त रकम नभएकाले ऋण विस्तार साँघुरिँदै गएको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा वित्तीय संस्थाद्वारा भएको लगानी वृद्धिदर औसत करिब १७ प्रतिशत छ । वार्षिक वृद्धिदर हेर्दा पछिल्ला वर्षमा लगानी विस्तार दर साँघुरिँदै गएको देखिन्छ । आर्थिक वर्ष ०७२/७३ बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी वृद्धिदर साढे २३ प्रतिशत थियो । आर्थिक वर्ष ०७५/७६ सम्म आइपुग्दा यस्तो वृद्धिदर करिब २० प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो वृद्धिदर करिब २२ प्रतिशत र आर्थिक वर्ष ०७३/७४ मा १८ प्रतिशत थियो ।
रकमका आधारमा भने लगानी हरेक वर्ष बढेको छ । पछिल्ला पाँच वर्षमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाह गरेको लगानी वार्षिक औसत ३ अर्ब रुपैयाँले बढेको देखिन्छ । पछिल्ला वर्षमा प्रवाह हुने नयाँ ऋण परिमाण पनि बढ्दो छ ।
प्रतिशतका आधारमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा घटेको राष्ट्र बैंकको प्रतिवेदनले पनि देखाएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.२ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षमा सरकारले साढे ८ प्रतिशत आर्थिक वृद्धि हुने महत्त्वाकांक्षी लक्ष्य तय गरेको छ । सो लक्ष्य प्राप्तिका लागि ऋण प्रवाह वृद्धिदर तीव्र हुनुपर्ने उनीहरूको भनाइ छ । राष्ट्र बैंकका अनुसार यो वर्ष आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न करिब १३ खर्ब पुँजी लगानी आवश्यक पर्छ । त्यसमा सरकारका तर्फबाट करिब २ खर्ब ८७ अर्ब रुपैयाँ लगानी गर्नुपर्छ । बाँकी करिब १० खर्ब २० अर्ब रुपैयाँ निजी क्षेत्रबाट लगानी हुनुपर्छ । गत वर्ष भएको कुल लगानीमा सरकारी र निजी क्षेत्रको योगदानका आधारमा उक्त अनुपात निकालिएको हो । अघिल्ला वर्षमा कुल स्थिर पुँजी निर्माणमा सरकारको हिस्सा करिब २२ प्रतिशत र निजी क्षेत्रको हिस्सा करिब ७८ प्रतिशत छ ।
प्रतिशतमा बैंक तथा वित्तीय संस्थाको लगानी वृद्धिदर घटेको देखिए पनि रकमको आधारमा बढिरहेकाले सुस्ताएकै रूपमा विश्षेण गरिहाल्न हतार हुने अर्थविद्हरू बताउँछन् । लगानी
बढ्यो/घट्यो भनेर हेर्नका लागि खुद गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात पनि हेर्नुपर्ने अर्थविद् केशव आचार्यले बताए । ‘उच्च आर्थिक वृद्धिका लागि लगानी वृद्धिदर सुस्ताउनु राम्रो मानिँदैन,’ उनले भने, ‘रकमका आधारमा लगानीको वृद्धिदर घटेको देखिँदैन, आधार फरक परेकाले प्रतिशतका आधारमा वृद्धिदर घटेको हुन सक्छ ।’
लगानीको आधार धेरै भइसकेकाले अब वृद्धिदर घट्ने वा स्थिर हुने सम्भावना रहने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको सुझाव छ । ‘अहिले मुलुकलाई ठूलो लगानी चाहिएको छ,’ उनले थपे, ‘यस्तो अवस्थामा स्थिर लगानी वृद्धि भयो भने अर्थतन्त्र संकुचनतिर जान्छ ।’
बजार मागको तुलनामा लगानीयोग्य पुँजी कम भए पनि लगानी घटिहाल्ने अवस्था नरहेको सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले बताए । बजारमा ऋणको माग उच्च भएकाले लगानी विस्तार कम हुने सम्भावना कम रहेको उनको भनाइ छ । ‘प्रतिशतमा भएको उतारचढावलाई मात्र आधार मान्दा विश्लेषण सही नहुन सक्छ,’ उनले भने, ‘आधार (बेस) मा भएको परिवर्तनले प्रतिशतमा उतारचढाव हुन सक्छ ।’
निजी क्षेत्रमा विस्तार भएको ऋणको आकार धेरै नघटेकाले वृद्धिदर कम भयो भनेर चिन्ता मान्नुपर्ने अवस्था नरहेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । केही वर्षयता लगानी वृद्धिदर निरन्तर बढिरहेकाले आधार ठूलो भएको र यसले वृद्धिदर सुस्त देखिएको उनले बताए । ‘पाँच वर्षअघि कुल लगानी १३ खर्ब हुँदा २३ प्रतिशतको वृद्धि थियो, गत वर्ष ऋणको आकार २९ खर्ब हुँदा वृद्धिदर २० प्रतिशत छ,’ उनले भने, ‘यस्तो स्थितिमा वृद्धिदरलाई मात्र हेरेर सही विश्लेषण नहुन सक्छ ।’ ऋणको आकार बढे पनि लगानी विस्तारमा कमी नभएकाले अब गुणस्तरमा ध्यान दिनुपर्ने अवस्था आएको उनले बताए । ‘अब लगानी विस्तारभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ,’ उनले थपे ।
कर्जा/जीडीपी अनुपात ८४ प्रतिशत
जीडीपीको अनुपातमा निजी क्षेत्रमा प्रवाह भएको कुल लगानी बढ्दै जानुले पनि ऋण प्रवाह वृद्धिदर नघटेको पुष्टि हुने जानकारहरू बताउँछन् । राष्ट्र बैंकको तथ्यांकअनुसार गत असारसम्म जीडीपीको अनुपातमा ऋणको आकार ८४.११ प्रतिशत पुगेको छ । पाँच वर्षअघि (आर्थिक वर्ष ०७१/७२ मा) यस्तो अनुपात ६४.०७ प्रतिशत थियो । आर्थिक वर्ष ०७१/७२ पछिका वर्षहरूमा यस्तो अनुपात क्रमशः ७४.७९, ७६.७४ र ८०.५७ प्रतिशत थियो ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋणको गुणस्तर (क्वालिटी) मा निकायले आशंका गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत दातृ निकायले आशंका गरेका हुन् । आईएमएफले लिखित रूपमै ऋणको गुणस्तरमा शंका व्यक्त गरेको छ ।

अर्थ वाणिज्य

कर्णाली र सुदूरपश्चिमको विद्युत्मा खर्चिइने

एआईआईबीबाट सरकारलाई पहिलो ऋण
- कृष्ण आचार्य

(काठमाडौं) - चीनले नेतृत्व गरेको एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) सँग नेपाल सरकारले लिने पहिलो ऋण कर्णाली र सुदूरपश्चिम प्रदेशमा खर्च गर्ने भएको छ ।
कर्णालीको २७.०३ प्रतिशत र सुदूरपश्चिमको ५८.९० प्रतिशत जनसंख्यामा मात्रै विद्युत् पहुँच पुगेकाले त्यहाको विद्युतीकरण विस्तारमा खर्च गर्ने गरी सरकारले एआईआईबीसँग ऋण लिने लागेको हो । दुई प्रदेशभित्र प्रसारण लाइन तथा विद्युत् विस्तारको कार्यमा खर्च गर्ने गरी करिब १३ अर्ब रुपैयाँ ऋण लिने निश्चित भएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको वैदेशिक महाशाखा प्रमुख श्रीकृष्ण नेपालका अनुसार त्यसका लागि एआईआईबीसँग वार्ता भइसकेको छ । ‘सरकारले यस वर्षको बजेटमा ऊर्जाको पहुँच कम भएका प्रदेश २, कर्णाली र सुदूरपश्चिममा विद्युत् विस्तारको काम गर्ने घोषणा गरेको छ,’ उनले भने, ‘एआईआईबीबाट लिने ऋण कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत्को वितरण प्रणाली स्तरोन्नति तथा विस्तार कार्यमा खर्च गरिनेछ ।’
यी दुई प्रदेशको विद्युत् वितरण प्रणालीको स्तरोन्नति तथा विस्तार कार्यका लागि अर्को एक दातृ निकायसँग समेत सहायता लिने क्रममा रहेको उनले बताए । ‘अर्को निकायसँग पनि कुराकानी टुंगिएपछि एआईआईबीसँग ऋणको सम्झौता हुनेछ,’ उनले भने, ‘एआईआईबीबाट लिने ऋण करिब २.८४ प्रतिशत ब्याजदरको हुने सम्भावना छ ।’ मन्त्रिपरिषद्ले एआईआईबीसँग ऋण लिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवसमेत रहेका नेपालको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।
सन् २०१६ बाट सञ्चालनमा आएको यो बैंकमा धेरैजसो विकासशील मुलुकहरू संस्थापक छन् । चीनको नेतृत्वमा स्थापना भएको यो बैंकबाट पुँजी परिचालन गरी एसिया र प्रशान्त क्षेत्रका पूर्वाधार विकास गरिने जनाइएको छ । नेपालसहित एक सय मुलुक सदस्य रहेको यो बैंकमा चीन सरकारको ३० प्रतिशत सेयर रहेको छ । बैंकको वेबसाइटका अनुसार यसमा नेपालको ८ अर्ब रुपैयाँ लगानी छ । यो बैंककको पुँजीको ० दशमलव ०८ प्रतिशत हो । बैंकमा नेपालले एक प्रतिशतभन्दा कम मताधिकार राख्छ ।
चीनले आफूले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ अवधारणाका परियोजनाहरूमा यो बैंकको पुँजी बढी परिचालन गर्ने उद्देश्य बोकेको छ । चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा यो बैंक स्थापनाको घोषणा गरेका थिए । अन्तर्राष्ट्रिय ठूला वित्तीय संस्थाहरूमाझ प्रतिस्पर्धी बैंकका रूपमा उदाएको एआईआईबीबाट नेपाल सरकारले पहिलोपटक ऋण लिन लागेको हो ।
निजी क्षेत्रतर्फ नेपालका लागि २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका लागि एआईआईबी बैंकसँग ऋण लिने/दिने सम्झौता भइसकेको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को अगुवाइमा ४५ करोड ३० लाख डलर (हालको विनिमयदरअनुसार साढे ५१ अर्ब रुपैयाँ) लगानी गर्ने गरी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भइसकेको छ । यो रकममध्ये एआईआईबीले मात्रै ३ करोड ९६ लाख अमेरिकी डलर (हालको विनिमयदर अनुसार साढे ४ अर्ब रुपैयाँ) ले लगानी गर्नेछ । सरकारले लिने र बजेटरी प्रणालीबाट भने पहिलो पटक खर्च गरिने ऋण करिब १३ अर्ब रुपैयाँ विद्युत् पहुँच कम पुगेका क्षेत्रमा खर्च हुने भएको छ ।
आर्थिक सर्वेक्षणअनुसार प्रदेशगत विद्युत् पहुँचमा सुदूरपश्चिम र कर्णाली प्रदेश सबैभन्दा पछाडि छन् । कर्णालीको जनसंख्यामध्ये २७.०३ प्रतिशतमा मात्रै विद्युत् पहुँच पुगेको छ । सुदूरपश्चिममा भने ५८.९० प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको तथ्यांकले देखाउँछ । ‘एआईआईबी बैंकबाट लिने ऋणले मात्रै त्यहाँ विद्युत् पहुँच पुर्‍याउने सरकारी घोषणा पूरा हुँदैन,’ मन्त्रालयका सहसचिव नेपालले भने, ‘अन्य क्षेत्रको बजेट पनि प्रयोग हुनेछ ।’
चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भए अनुसार विद्युत् पहुँच कम पुगेका प्रदेशमा अँध्यारोमुक्त प्रदेश घोषणा गरिने कार्यक्रम छ । ‘जलविद्युत्, सौर्य ऊर्जा, जैविक, वायुलगायतका नवीकरणीय ऊर्जाको उपयोगबाट ऊर्जाको पहुँच कम भएका प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई सर्वप्रथम पूर्ण रूपमा अँध्यारोमुक्त प्रदेश घोषणा गरिनेछ,’ बजेटमा भनिएको छ । अँध्यारोमुक्त कहिलेसम्म घोषणा गरिसक्ने बजेटमा उल्लेख छैन । प्रदेश २ मा भने एआईआईबीको ऋण रकम खर्च गर्ने योजना छैन ।
सहसचिव नेपालका अनुसार एआईआईबीसँग ऋण लिने तयारीका आयोजना अरू ७ वटा छन् । तर, त्यसबारे एआईआईबी बैंकसँग समझदारी हुनै बाँकी छ । पाइपलाइनमा भएका आयोजनामध्ये तामाकोसी जलविद्युत्–५ आयोजनामा पनि लगानी लिने चर्चा चलिरहेको छ । १ सय मेगावाटको यो जलविद्युत् आयोजनामा १५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । ‘यो आयोजनामा एआईआईबीले लगानी गर्ने विषयमा ठोस निर्णय भइसकेको छैन,’ नेपालले भने ।

अर्थ वाणिज्य

वृद्धिदर उच्च हुने शीर्ष दसमा नेपाल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बेलायती म्यागजिन द इकानोमिस्टले आर्थिक वृद्धिदर उच्च हुने शीर्ष दस मुलुकको सूचीमा नेपाललाई राखेको छ ।
आगामी वर्ष सन् २०२० को आर्थिक वृद्धि प्रक्षेपण गर्ने क्रममा इकोनोमिस्टले नेपाललाई उक्त अवधिमा ६.९ प्रतिशत हुने अनुमानसहित उक्त सूचीको आठौं स्थानमा राखेको हो । यो सूचीमा दक्षिण एसियाबाट बंगलादेश (तेस्रो) र भुटान (छैटौं) नेपालभन्दा अघि छन् । ती मुलुकको वृद्धिदर क्रमशः ७.७ प्रतिशत र ७.३ प्रतिशत हुने अनुमान गरिएको छ । अर्को छिमेकी म्यान्मार (७.३ प्रतिशतको वृद्धिदरसहित) नेपालभन्दा अघि छ भने भारत नेपालभन्दा पछि १० औं स्थानमा छ । इकोनोमिस्ट इन्टेलिजेन्सले गरेको यो सर्वेक्षणमा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकको शीर्ष दसमा सानो द्वीप राष्ट्र आइभरी कोस्ट (नवौं) बाहेक एसिया र अफ्रिकाकी मुलुक मात्र छन् । आगामी वर्षको वृद्धिदर ३५ प्रतिशत हुने अनुमान गरिएको गायना पहिलो स्थानमा छ । गृहयुद्धले क्षतिग्रस्त बनेको मध्यपूर्वको सिरिया दोस्रो स्थानमा छ । उसको वृद्धिदर ८.९ प्रतिशत हुने अनुमान गरिएको छ । अफ्रिकी मुलुक रुवान्डा चौथो र इथियोपिया पाँचौं स्थानमा छन् ।
चीनको अर्थतन्त्र भीमकाय हुँदै गएकाले आर्थिक वृद्धि पहिलेकै जस्तो हुन नसक्ने टिप्पणी इकोनोमिस्टले गरेको छ । इकोनोमिस्टका अनुसार आगामी एक वा दुई वर्ष चीनको वृद्धदर ६ प्रतिशत हुनेछ । सन् २००४ देखि तीव्र आर्थिक वृद्धि गरिरहेको बंगलादेशले यसबीचमा अर्थतन्त्रको आकार तेब्बर बनाएको छ ।
कुल राष्ट्रिय खुसी नाम दिएर अर्थतन्त्रलाई मापन गर्दै आएको भुटान आर्थिक वृद्धिको परम्परागत मापनमा पनि चम्किइरहने इकानोमिस्टको दाबी छ । नेपाल र आइभोरिकोस्टको वृद्धिलाई उसले प्रशंसा गरेको छ । इकोनोमिस्टले सातै महादेशका १०७ मुलुकको सर्वेक्षण गरी यो सूची प्रकाशित गरेको हो । यस अवधिमा पश्चिम युरोपले १.४ प्रतिशत, पूर्वी युरोपले २.४ प्रतिशत, उत्तर अमेरिकाले १.६ प्रतिशत, दक्षिण अमेरिकाले १.२ प्रतिशत, अफ्रिकाले २.५ प्रतिशत औसत वृद्धिदर हासिल गर्ने छन् । एसियाको वृद्धिदर सबैभन्दा उच्च ५.२ प्रतिशत रहनेछ । विकसित मुलुकहरूमध्ये जापानको वृद्धिदर ० दशमलव ४ प्रतिशत हुनेछ । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, क्यानडाको वृद्धिदर २ प्रतिशतभन्दा कम हुनेछ । यस अवधिमा २०१९ को तुलनामा अधिकांश मुलुकमा ब्याजदर घट्ने र ज्यालादर बढ्ने पनि इकोनोमिस्टले प्रक्षेपण गरेको छ ।

Page 18
अर्थ वाणिज्य

‘लगानी कानुनको एकीकरण गरे लागत घट्छ’

- कान्तिपुर संवाददाता

(काठमाडौं) - लागत घटाउन, द्विविधा हटाउन र लगानी आकर्षण गर्न लगानीसँग सम्बन्धित कानुनहरूको एकीकरण गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
पूर्व अर्थसचिव रामेश्वर खनालले पनि नेपालका ऐन कानुनहरू तुलनात्मक रूपमा लचिला रहेको बताउँदै कार्यान्वयनमै समस्या रहेको र एकद्वार आवश्यक रहेको बताए । उनले हालको उद्योग दर्ता र खारेजी प्रक्रिया पुँजीपतिमुखी भएको भन्दै सुधार हुनुपर्नेमा जोड दिए । ‘कम्पनी दर्ता गर्न पुँजी किन चाहियो ? पुँजी राखेबापत सरकारले अनुदान त दिँदैन,’ खनालको भनाइ उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘सुरुमै पुँजी राख्न पुँजीपतिले मात्रै सक्छ, नव उद्यमीले सक्दैन ।’ पुँजी राख्नुपर्ने विद्यमान व्यवस्थाले नवद्यमशीलतामैत्री नभई पुँजीपतिलाई मात्रै फाइदा हुने उनले बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र समृद्धि फाउन्डेशनले आयोजना गरेको लगानी सुधारका लागि काननुहरूको एकीकरण विषयक अन्तर्क्रियामा विज्ञहरूले लगानी प्रवर्द्धनका लागि प्रक्रियागत नीतिगत सुधारमा जोड दिएका थिए । कार्यक्रममा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले लगानी प्रवर्द्धनका लागि कानुनको एकीकरणका साथै सोच र कार्यशैलीमा पनि परिवर्तन आवश्यक रहेको बताए ।
आर्थिक क्षेत्रमा आवश्यकभन्दा बढी कानुनहरू निर्माण भए पनि कार्यान्वयनमा यथास्थितिवादी सोच हाबी भएको उनले बताए । लगानी प्रवर्द्धनका लागि सबैभन्दा पहिले उद्योग दर्ता, खारेजी र कर भुक्तानी सहज बनाइनुपर्ने उनको भनाइ छ ।
कागजी प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रक्रियामा लैजानुपर्ने पनि उनले बताए । समृद्धि फाउन्डेशनका अनुसन्धानकर्ता कुलप्रसाद पाण्डेले ‘आर्थिक कानुन एकीकरणको अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्दै आर्थिक कानुनको एकीकरण जोड दिएका थिए । आर्थिक कानुनहरूको एकीकरण भएमा निजी क्षेत्र मात्र नभई सरकार, न्यायपालिका र संसद्को समय र खर्चमा उल्लेख्य रूपमा कमी आउने उनको भनाइ छ । ‘यदि कानुनहरू एकीकरण नगर्ने हो भने कुनै दिन प्रतिव्यक्ति कानुन तुलना गर्नुपर्ने दिन आउन सक्छ,’ उनले भने ।
अर्थ मन्त्रालयका सहसचिव उदयराज सापकोटाले भने सरकारले लगानीमैत्री ऐन निर्माण गरे पनि कार्यान्वयमा समस्या देखिएको बताए । कार्यान्वयन गर्ने व्यक्ति तथा निकायको सोचमा परिवर्तन नभएसम्म कानुनको एकीकरणले मात्रै खासै अर्थ नराख्ने उनको भनाइ थियो । कानुन मन्त्रालयलका सहसचिव फणीन्द्र गौतमले पछिल्लो समय सरकारले आर्थिक ऐनहरूमा पनि सुधार गर्दै लगेको बताए ।

अर्थ वाणिज्य

अप्टिकल फाइबर निर्माण गर्न समझदारी

- कान्तिपुर संवाददाता

(काठमाडौं) - कर्णाली र सुदूरपश्चिम प्रदेश खण्डमा अप्टिकल फाइबर (सूचना महामार्ग) बिछ्याउने काम नेपाल टेलिकमले गर्ने भएको छ । टेलिकम र दूरसञ्चार प्राधिकरणबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर (एमओयू) भएको छ ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुई वर्षभित्र करिब २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिछ्याउने काम पहिले स्मार्ट टेलिकमलाई जिम्मा दिइएको थियो । तर, साढे दुई वर्षमा १ प्रतिशत मात्रै काम गरेपछि गत कात्तिकमा स्मार्टसँगको सम्झौता रद्द गरिएको थियो । स्मार्टबाट खोसिएको अप्टिकल फाइबर बिछ्याउने ३ अर्बको परियोजना नेपाल टेलिकमलाई दिन मन्त्रिपरिषद्ले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।
प्राधिकरणका अध्यक्ष खनालले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको आधारशिलाका रूपमा महामार्गलाई अघि बढाइएको बताउँदै निर्धारित समयमै काम सम्पन्न हुने बताए । त्यस्तै टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले सूचना र प्रविधिको कोणबाट मात्र नभई डिजिटल अर्थतन्त्र निर्माणका लागि आयोजना महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मुलुकमा प्राविधिक र आर्थिक रूपान्तरण ल्याउन मद्दत पुग्ने बताए । कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्य पहाडी लोकमार्ग, पूर्व–पश्चिम,उत्तर–दक्षिण, हुलाकी मार्ग, जिल्ला सदरमुकाम र नगरपालिकालाई समेत यस आयोजनाले अप्टिकल फाइबरको सञ्जालमा जोड्ने लक्ष्य छ ।
टेलिकमले निर्माण गर्ने यो आयोजनाले रुकुमको मुसीकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार हुनेछ । दुई प्रदेशसहित बाँके र बर्दियासहित २० जिल्लामा फाइबर नेटवर्क विस्तार हुने छ । आयोजनाअन्तर्गत मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा न्यूनतम ९६ कोरको तथा सदरमुकाम र नगरपालिकासम्म न्यूनतम ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार हुनेछ ।
त्यस्तै आवश्यकताअनुसार ४०० गिगाबिट प्रतिसेकेन्डसम्म क्षमता अभिवृद्धि गर्न सकिने गरी १०० गिगाबिट प्रतिसेकेन्ड क्षमता पोर्ट तथा १० गिगाबिट प्रतिसेकेन्ड क्षमताका पोर्ट वा दुवैको मिश्रण रहेका कोर राउटर प्रयोगमा ल्याइनेछ । अप्टिकल फाइबर सञ्जालमा करिब २६ स्थानमा डीडब्लूडीएम र ५२ स्थानमा राउटर प्रयोगमा आउनेछन् । विस्तृत अध्ययनपश्चात् एक महिनाभित्र सम्झौता गरिसक्ने समझदारीमा उल्लेख छ ।

अर्थ वाणिज्य

उखुमा पोहोरकै समर्थन मूल्य

- राजु चौधरी

(काठमाडौ) - सरकारले उखु किसानलाई पोहोरकै मूल्य दिने तयारी गरेको छ । उखुको मूल्य सन्दर्भमा गठित मूल्य निर्धारण सिफारिस समितिले प्रतिक्विन्टल ५ सय ३५.५६ रुपैयाँ सिफारिस गरेको हो ।
‘चालु आर्थिक वर्षका लागि पोहोरकै मूल्य कृषिमन्त्रीलाई प्र्रस्ताव गरेका छौं,’ कृषि मन्त्रालयका एक अधिकारीले भने, ‘सम्भवतः सोही मूल्य नै पारित हुन्छ ।’ ती अधिकारीका अनुसार उखु किसानहरूसँगको छलफलमा कृषिमन्त्री घनश्याम भुसालले गत वर्षकै मूल्यमा बिक्री गर्न सुझाव दिएका थिए । मन्त्री भुसालले समर्थन मूल्य छिट्टै तोक्ने बताउँदै न्यूनतम गत वर्षकै रहेको किसानसँग बताएका थिए ।
‘मन्त्रीज्यूसँगको छलफलमा गत वर्षकै मूल्यमा भुक्तानी गर्न भन्नुभएको छ,’ नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भने । सरकारले अर्थिक वर्ष २०७५/७६ का लागि पनि प्रतिक्विन्टल ५ सय ३६.५६ रुपैयाँ नै तोकेको थियो । अहिले पनि सोही मूल्य तोक्ने तयारी गरेको हो ।
उखुको मूल्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सिफारिस गर्छ । उक्त मूल्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहमतिपश्चात् मन्त्रिपरिषद्मा पेस हुन्छ । त्यसपश्चात् मन्त्रिपरिषद्को निर्णयबाट मूल्य कार्यान्वयन हुन्छ । आपूर्ति मन्त्रालयका उपसचिव उर्मिला केसीले पनि मूल्य सिफारिस समितिको बैठकमा प्रतिक्विन्टल ५ सय ३६.५६ रुपैयाँ दिने निर्णय भएको बताइन् । तर, किसानलाई दिँदै आएको सरकारी अनुदान भने बढाउन सिफारिस गरेको बताइन् । ‘छलफलका क्रममा पोहोरकै मूल्य दिने निर्णय भएको छ । सायद निर्णय कृषिमन्त्रीसमक्ष पेस भएको छ,’ उनले भनिन्, ‘मन्त्रीबाट थप टुंगो लाग्छ ।’
यसअघि सरकारले २०७४/७५ मा प्रतिक्विन्टल ५ सय ३१ रुपैयाँ, २०७३/७४ मा प्रतिक्विन्टल रुपैयाँ, २०७२/७३ मा ४६१ रुपैयाँ तोकेको थियो । सरकारले मूल्य तोके पनि उद्योगीहरूले भने उक्त मूल्य नदिएको किसानहरूको गुनासो छ । महासंघका अध्यक्ष मैनालीका अनुसार उद्योगीहरूले समर्थन मूल्य बढी भएको जनाउँदै गत वर्ष ढिलाइ गरेर क्रसिङ सुरु गरेका थिए । उखुको मूल्यमा मनोमानी थियो । त्यसपश्चात् सरकारले ढिलाइ गरी मूल्य तोक्यो । उक्त मूल्य पुस २६ बाट कार्यान्वयन भएको थियो । अहिले पुनः उद्योगीहरूले मनोमानी सुरु गरेको किसानहरूको आरोप छ ।
हाल उखु उत्पादक कृषकले सिधै भुक्तानी पाउने गरी ‘उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि २०७५’ बनाइएको छ । कार्यविधिबमोजिम सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउने भनिएको छ । सरकारले उपलब्ध गराउने अनुदान ५३६ रुपैयाँभित्रै हो । कार्यविधिअनुसार अनुदान रकम सिधै कृषकको खातामा जम्मा गरिदिनुपर्छ । मूल्य अभिवृद्धि कर फिर्ता गर्दा किसानले नपाएको गुनासोपश्चात् सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत उत्पादन अनुदान दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कार्यविधिअनुसार सिधै खातामा जम्मा गर्ने व्यवस्था गरेको हो । अनुदान रकम वितरणका लागि ‘भुक्तानी समिति’ समेत गठन भइसकेको छ ।
किसानले सरकारबाटै गत वर्षकै अनुदान पाएका छैनन् । मैनालीका अनुसार सरकारबाट गत वर्षकै १ अर्ब ३० करोड रुपैयाँ बाँकी छ । अघिल्लो वर्षको २ करोड रुपैयाँ अनुदान बाँकी नै छ । चिनी उद्योगीबाट करिब १ अर्ब रुपैयाँ लिन बाँकी छ । चिनी उद्योगहरूमध्ये श्रीराम, अन्नपूर्ण, महालक्ष्मी, वाग्मती, लुम्बनी र इन्दिराबाट उखुको रकम लिन बाँकी रहेको मैनालीको दाबी छ । ‘पटकपटक ताकेता गरेका छौं,’ उनले भने, ‘तर, किसानले अझै पाएनन् ।’ उखुको समर्थन मूल्य मंसिर महिनाभित्र तोकिसक्नुपर्छ ।

अर्थ वाणिज्य

भोकमरी सूचकांकमा नेपाल ७३औं स्थानमा

- कान्तिपुर संवाददाता

काठमाडकौं (कास)– विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल ७३ औं स्थानमा रहेको एक प्रतिवेदनले जनाएको छ ।वेल्टहंगरहिल्फे नामक अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा ‘जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल’ (ली–बर्ड) द्वारा बिहीबार जारी प्रतिवेदनअनुसार छिमेकी मुलुक भारतभन्दा नेपाल अगाडि देखिएको छ ।
‘वेल्टहंगरहिल्फे र कन्सर्न वर्ल्डवाइडको संयुक्त अध्ययनका आधारमा प्रकाशित भोकमरी विश्वव्यापी सूचकांकमा नेपाल ७३ औं स्थानमा छ,’ प्रतिवेदन सार्वजनिक पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘छिमेकी मुलुकहरू चीन र भारत क्रमशः २५औं र १०२औं स्थानमा छन् ।’ प्रतिवेदनले नेपालको भोकमरी अवस्था ‘अति भयाबह’ र ‘भयाबह’ स्थितिमा नरहेको जनाएको छ । ‘दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानभन्दा नेपालको खाद्य तथा पोषणको स्थिति राम्रो रहेको तर श्रीलंकाभन्दा केही कमजोर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भुटान र मालदिभ्स भने यस अध्ययनमा समेटिएका छैनन् ।’

अर्थ वाणिज्य

‘विदेशी लगानी आवश्यक’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अर्थमन्त्री युवराज खतिवडाले मुलुकको विकास निर्माणका लागि विदेशी लगानी अपरिहार्य भएको बताएका छन् । यसका लागि नेपाल र भारतको आपसी सहयोग र समझदारी दुवै आवश्यक रहेको उनले बताए । ‘नेपालमा विदेशी लगानीका लागि राम्रो वातावरण छ । लगानीकर्तालाई निरुत्साहित गर्ने नीति पनि छैन,’ नेपाल–भारत उद्योग वाणिज्य संघको २५औं वार्षिक साधारणसभामा अर्थमन्त्री खतिवडाले भने, ‘ऐन कानुन भारतीय लगानीमा केन्द्रित गरेका छौं ।’ उनले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन आइसकेकाले नियमावली पनि छिट्टै आउने बताए । यस्तै प्रतिलिपि अधिकारसम्बन्धी कानुन परिमार्जन गरी ल्याउने उनले बताए । ‘मस्यौदा छलफलका लागि मन्त्रिपरिषद्मा छ,’ उनले भने । उनले सीमा क्षेत्रमा हुने चोरीपैठारीलाई दुवै मुलुक मिलेर नियन्त्रण गर्नुपर्ने बताए । उनले भ्रमण वर्ष सफल बनाउन भारतीय पर्यटकको भूमिकामा महत्त्वपूर्ण हुने बताए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले रेल र जलमार्ग नेपालका लागि गेमचेन्जर प्रोजेक्ट सावित हुने बताए । ‘रेलमार्गका लागि डीपीआर र फिजिब्लिटी अध्ययन भएको छ । थप विस्तृत अध्ययन भइरहेको छ,’ उनले भने । उनले लगानीमा भारतका लागि नेपाल पहिलो रोजाइ भएको बताए । यस्तै पयर्टन र सिभिल एभिएसनमार्फत दुई मुलुकलाई जोड्न सकिने उनले बताए ।
‘नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले तुलनात्मक लाभ लिन सक्ने वस्तु निर्यात गर्न नसक्दा भारतसँगको व्यापार घाटा अन्तर ठूलो रहेको बताए ।
उनले भारतसँग व्यापार घाटा कम गर्न तुलनात्मक लाभ लिन सक्ने वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले नेपाली व्यापारीले भारतमा निर्यात गर्दा अनावश्यक दुःख दिने प्रवृत्ति रोक्नुपर्ने बताए । ‘नेपाली वस्तु निर्यात गर्ने क्रममा अनावश्यक दुःख दिइँदा निर्यात गर्न समस्या भयो,’ उनले भने, ‘दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुधार गर्न आयात–निर्यातमा सीमा क्षेत्र सहज बनाउनुपर्छ ।’
संघको अध्यक्षमा राणा
नेपाल–भारत उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभाले सिर्जना राणाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

अर्थ वाणिज्य

टाटाको चौथो ग्लोबल सर्भिस क्याम्फ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– टाटा मोटर्सको अधिकृत वित्रेता सिप्रदी ट्रेडिङले चौथौ ग्लोबल सर्भिस क्याम्प बिहीबारदेखि सञ्चालनमा आएको छ । टाटाका प्रेसिडेन्ट गिरिस वाग र सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेरले कार्यक्रमको उद्घाटन गरेका थिए । 

अर्थ वाणिज्य

सनफ्लोको हीरा उपहार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सनफ्लो सनफ्लावर तेलले ‘हीराको हार उपहार’ योजनाको दोस्रो लक्की ड्रका विजेतालाई उपहार हस्तान्तरण गरेको छ । नेपालगन्जकी पूजाकुमारी बैशले हीराको हार र जनकपुरका रामविनोद रायलाई हीराको लकेट उपहार वितरण गरिएको हो । त्यसैगरी काठमाडौंका हरिप्रसाद पराजुली र मोरङकी दुर्गामाया पोखरेललाई हीराको टप हस्तान्तरण गरिएको छ । 

अर्थ वाणिज्य

नेपाल खुला विश्वविद्यालयको सहकार्यमा छलफल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायले गोवल सेन्टर फर रिसर्च एन्ड डेभलपमेन्ट तथा ओडीसी पोलिसी हबसँगको सहकार्यमा नेपालको समृद्धि विषयमा तीन छलफल कार्यक्रम आयोजना गरेको छ । छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको उपस्थिति रहेको थियो भने ओडीसीको कार्यकारी अध्यक्ष मोहनदासले आफ्नो भनाइ राखेका थिए ।

अर्थ वाणिज्य

होङ्सीद्वारा १५० को स्वास्थ्य जाँच

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– होङ्सी शिवम् सिमेन्टले पाल्पाको जामिर निस्दीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कम्पनीले १६ चिनियाँ चिकित्सा टोलीको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १५० भन्दा बढी महिला र बालबालिकाहरू सहभागी थिए ।

Page 19
१३ औं दक्षिण एसियाली खेलवुद

स्वर्ण रक्षामा सफल

- राजु घिसिङ
लगनखेलस्थित आर्मीको कभर्डहलमा बिहीबार उसुमा स्वर्ण जितेपछि नेपालकी निमा घर्तीमगर । सागमा उनको यो लगातार स्वर्ण पदक हो ।तस्बिर ः अंगद ढकाल/कान्तिपुर

(काठमाडौं) - १९ वर्षकी भइन्, तैपनि अझै तोते बोल्छिन्, जसले १६ वर्षको छँदा १२ औं सागमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी थिइन्, सिलोङमा । तीन वर्षअघि सफलतामा १६.९१ अंक जोडेकी निमा घर्तीमगरले बिहीबार उसुको थाउलुअन्तर्गत २० पूर्णांकको नान छ्वान अलराउन्डमा १८.९१ अंक जोड्दै त्यो स्वर्णको रक्षा गरिन् । १३ सागको उपाधिसँगै उनी उसुमा दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भइन् । त्यो पनि लगातारको सफलता ।
सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलको हलमा स्वर्ण चुमेपछि रोल्पाली छोरी निमाले भनिन्, ‘प्रकाश (लामा) गुरुले सधैं भन्नुहुन्थ्यो, तिम्रो खेल्ने उमेर छ, फेरि स्वर्ण जित्यौं भने रेकर्ड हुन्छ । ट्रेनिङपछि अरूलाई पहिलो स्वर्ण र मलाई दोस्रो स्वर्णका लागि हौसला दिइरहनुहुन्थ्यो । पहिला स्वर्ण जितेका गुरुहरूले त्यसपछि खेल्न छाड्नुभयो । मैले दुईपल्ट खेलें । दुईपल्टै जितें । गर्व लाग्छ ।’
‘सेल्फ डिफेन्स’ का लागि चार कक्षामा छँदै एक महिना जुडो खेलेपछि उसुतर्फ लागेकी निमाले यसपालि बंगलादेशकी मोरजिना अख्तर (१६.३०) र श्रीलंकाकी सन्जु कुमारी (१४.७४) लाई सहजै पछाडि पार्दै स्वर्ण चुमेकी हुन् । उनले अघिल्लो दिन नान छ्वान (खाली हात) मा ९.३१ र नान ताओ (तरबारसहित) मा बिहीबार ९.६० अंक बनाएकी थिइन् । पहिलो दिन नै फराकिलो अग्रता लिएकी उनले भनिन्, ‘हिजोको अंकबाटै जित्नेमा ढुक्क थिइनँ । किनभने खेलमा जे पनि हुन सक्छ ।’ उनले करिअरकै सबभन्दा राम्रो अंकसहित स्वर्ण जितेकी हुन् । ‘निमाले उत्कृष्ट प्रदर्शन गरिन् । बिनागल्ती राम्रो अंक जोडिन्,’ थाउलुका प्रशिक्षक प्रकाश लामाले भने, ‘उनी मिहिनेती र अनुशासित खेलाडी हुन् । खेलमा अझै सुधार गर्न सक्छिन् । थप सफलता दिलाउन सक्छिन् ।’
दैनिक ६–७ घण्टासम्म अभ्यास गर्ने निमाले भनिन्, ‘मेरो आफ्नै मिहिनेत, गुरुहरू र अभिभावकको साथले यहाँसम्म आइपुगें ।’ उनी राष्ट्रिय टिमको ट्रेनिङ नभएका बेला पनि आफैं घन्टौं अभ्यास गर्थिन् । त्यस बेलाको सबै खर्च आफैं बेहोर्नुपरेको उनी सम्झिन्छिन्, ‘कुनै ठूलो गेमको बेलामात्रै खेलकुद परिषद्ले डाइट र भत्ता दिन्छ । अरू बेला आफैंले मिलाउनुपर्छ ।’
१२ औं सागमा भारत र पाकिस्तानी खेलाडीलाई पराजित गरेकी निमाको स्पर्धामा यसपालि ती दुवै देशका खेलाडी थिएनन् । उसुको २२ मध्ये १७ स्पर्धामा मात्रै प्रतिस्पर्धा गर्न पाउने प्रावधान सम्झाउँदै उनले भनिन्, ‘भारतले आफ्नो स्वर्ण रक्षा गर्नलाई हुन सक्छ, मेरो स्पर्धामा खेलाडी पठाएन किनभने मैले १२ औं सागमा पनि राम्रो गरेकी थिएँ । म नराम्रो खेलाडी होइन । भारत सान्सौमा बलियो छ, सान्सौको सबै स्पर्धामा खेलाडी पठाएको छ । थाउलुमा उसका पुरुष खेलाडी बलिया छन् र आएका छन् पनि ।’ उनले थपिन्, ‘राम्रो खेलाडीलाई हराएर जित्नुको मज्जा हुन्छ तर यहाँ आएका कुनै पनि प्रतिद्वन्द्वीलाई कमजोर भन्न मिल्दैन । उनीहरूले चीनबाट प्रशिक्षक ल्याएर ट्रेनिङ गरेका थिए ।’
बुबाआमाको साथ
भारतले लगाएको नाकाबन्दी खुलेको धेरै भएको थिएन, पेट्रोलको अभाव थियो । त्यो बेला भारतमै १२ औं साग भइरहेको थियो । छोरी निमाले स्वर्ण जितेको खबर पाउँदा बुबा मन्सुर आफ्नो पिकअप भ्यान लिएर लगनखेलको पेट्रोल पम्पको लाइनमा थिए । यसपालि त्यहीनजिक हलमा मन्सुरले छोरीले त्यो स्वर्णलाई रक्षा गरेको क्षणलाई आफ्नै आँखाले नियाले ।
‘साह्रै खुसी लाग्यो । छोरीले देशलाई पदक दिलाएको आफ्नै आँखाले हेर्ने अवसर पाएँ,’ मन्सुरले भने । पिकअप भ्यान बिग्रिएपछि ग्यारेजमा राखेर बालकुमारीबाट हिँडेर लगनखेल पुगेका उनले थपे, ‘यस्तो मौका सधैं कहाँ मिल्छ र ∕’ उनले छोरीले स्वर्ण जितेपछि ‘बधाई, अझै राम्रो गर्नु’ भनेका थिए । उनले १२ औं सागमा स्वर्ण जित्दासम्म निमालाई हरेक दिन ट्रेनिङ स्थलसम्म पिकअप भ्यानमा पुर्‍याउने गर्थे । त्यो सागको स्वर्णपछि निमाले एसएलसी उत्तीर्ण गरिन्, नागरिकता बनाइन् । कलेज धाउन स्कुटर किनिन् । ट्रेनिङ स्थल आउजाउ गर्न त्यही स्कुटर सहारा बन्यो । अनि बुबाको पिकअप भ्यानले निमालाई बोक्नुपरेन ।
आमा पुना पनि किराना पसल बन्द गरेर छोरीको खेल हेर्न आएकी थिइन् । ‘छोरीले यसपालि पनि जितिन् । राम्रो गरिन् । सधैं राम्रो गरोस्,’ उनले भनिन् । निमाका लागि आमाको उपस्थिति ‘सरप्राइज’ थियो । पुनाले बिहान निमालाई भनेकी थिइन्, ‘पसल खोल्नुपर्छ, आउँछु कि आउँदिनँ थाहा छैन ।’ तर आमालाई छोरा दीपेन्द्रले स्कुटरमा राखेर हलसम्म ल्याए ।
‘सिलोङमा साथीहरू र गुरु मात्र थिए हाम्रो खेल हेर्ने,’ निमाले २ वर्षको सफलतासँग हलको माहोललाई दाँजिन्, ‘यसपालि बुबाआमा, दाजु, आफन्तहरू, कलेजका साथीहरू आउनुभयो । साह्रै खुसी लाग्यो । यसरी खेल प्रदर्शन गर्ने बेला उहाँहरूलाई देख्न पाउँदा आत्मविश्वास बढ्छ । उहाँहरूकै अगाडि खेल प्रदर्शन गरेर स्वर्ण जित्न पाउँदा एकदमै खुसी छु ।’ उनी स्वर्ण पदक थापेपछि दर्शकदीर्घामा बसिरहेका बुबाआमातिर गइन् । र, आमालाई आफ्नो पदक लगाइदिइन् । बुबाआमाले उनलाई खादा लगाइदिए ।
उनका बुबाआमा गत वर्ष भएको एसियाली खेलकुदको छनोटमा पनि छोरीको खेल हेर्न हल पुगेका थिए । त्यसमा सफलता हात पार्दै उनी इन्डोनेसियासम्म पुगेकी थिइन् । दुईपल्ट विश्व च्याम्पियनसिप (२०१७ र ०१८) मा पनि प्रतिस्पर्धा गरेकी उनी १४ वर्षको छँदै एसियाली खेलकुद २०१४ मा छनोट भएकी थिइन् तर आफ्नो स्पर्धा खेलकुद परिषद्ले कटौती गर्दा उनी कोरिया जान पाइनन् । ‘एसियामा खेल्न नपाउँदा धेरै रोएँ । झन्डै दुई साता स्कुल नै गइनँ । अहिले पनि त्यो क्षण सम्झँदा मन चसक्क हुन्छ र बेलाबेला अझै पनि रुन्छु,’ निमा भावुक भइन् । १३ औं सागमा पनि उनको स्पर्धालाई लिएर केही साताअघिसम्म अन्योल भएको थियो । ‘सुरुमा मेरो इभेन्ट नै छैन भनेको सुन्दा नमज्जा लागेको थियो । दोधारमा थिएँ,’ उनले भनिन्, ‘केही छैन, यसपालि नभए अर्कोपालिका लागि तयारी गर्छु भन्ने सोचें । अभिभावकले पनि निराश नहुनु भन्नुभयो । मैले सोच बनाइसकेकीे थिएँ । पछि मेरो स्पर्धा समावेश भयो । खेल्न पाएँ र जितें पनि ।’

१३ औं दक्षिण एसियाली खेलवुद

उसुमा कीर्तिमान

- कान्तिपुर संवाददाता

उसुको सान्सौं (फाइट) मा सान्सौंतर्फ ५ नेपाली खेलाडी फाइनलमा पुगेका थिए । तर, जुनी राईले मात्रै स्वर्ण चुम्न सकिन् । राजकुमार रसाइली (कोलम्बो/२००६) ले सफलता हात पारेयता सान्सौमा स्वर्ण जित्ने उनी पहिलो नेपाली हुन् । यससँगै नेपालले १३ औं सागको उसुमा ६ स्वर्ण हात पार्‍यो । सागको उसुमा एकै संस्करण दुईभन्दा बढी स्वर्ण पहिलोपल्ट जितेको हो ।
पुलिस क्लबकी जुनीले महिला ५६ केजी स्पर्धाको फाइनलमा श्रीलंकाकी मधुमालीलाई सुरुकै दुई राउन्डमै पराजित गरिन् । १२ औं सागमा रजत हात पारेकी इलामे चेलीले सेमिफाइनलमा भारतकी विद्यापति चानुलाई पराजित गरेकी थिइन् । ‘चानुविरुद्धको खेल नै फाइनलजस्तो थियो,’ २६ वर्षीया जुनीले भनिन्, ‘श्रीलंकाली खेलाडीलाई पराजित गर्नेमा विश्वस्त थिएँ । जितें पनि । स्वर्णमा एकदमै खुसी छु । योभन्दा माथिल्लो स्तरमा सफलता हात पार्न चाहन्छु ।’
महिलातर्फ ५२ केजीमा एलिना चौधरी भने भारतकी सान्थोई देवीसँग चुकेपछि रजतमा सीमित भइन् । विन्दा पुनको ७० केजीमा स्वर्ण जित्ने अभियानमा भारतकी दीपिका बाधक बनिन् । शिलु डंगोललाई ७५ केजीमा फाइनलमा भारतकै पुनमले सिकार बनाइन् । पुरुषतर्फ ६० केजीको फाइनलमा मंगल थारूले पनि भारतका विक्रान्त बलियानको चुनौती पन्छाउन सकेनन् ।
उसुको अन्तिम दिन बिहीबार मीना ग्लान ताइची छ्वान अलराउन्ड र विश्व बुढामगर कुन्सु ताउसुमा रजतमै सीमित भए । मीनाले १८.४४ अंक जोड्दा श्रीलंकाकी गुनसेकरालाई १८.६६ अंकसहित स्वर्ण दिइएको थियो । यसमा हलमा उपस्थित सबैले धाँधली भएको भन्दै रेफ्रीको विरोध गरेका थिए । विश्वले १९.१३ अंक जोडे भने स्वर्ण विजेता भारतका सुइरज सिंहले १९.२२ अंक बनाए । अघिल्लो दिन हरिप्रसाद गोलेले कांस्य हात पारेको थाइची छ्वानमा रेफ्रीले पक्षपात गरी श्रीलंकाली खेलाडीलाई स्वर्ण दिएको आरोप लागेको छ । विरोधमा भारतीय खेलाडीले रजत पदक लिन अस्वीकार गरिदिए ।

१३ औं दक्षिण एसियाली खेलवुद

स्वर्णमा कीर्ति

- कान्तिपुर संवाददाता

(काठमाडौं) - नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदकको कीर्तिमान तोडेको छ । बिहीबारसम्म नेपालले सागको १३ औं संस्करणमा ३६ स्वर्ण जितिसकेको छ । सागको एकै संस्करणमा नेपालले अहिलेसम्मकै बढी स्वर्ण जितेको हो ।
सन् १९९९ मा आफैंले आयोजना गरेको आठौं साग (तत्कालीन साफ) मा नेपालले ३१ स्वर्ण जितेको थियो, जुन यसअघि एकै संस्करणमा नेपालले सबैभन्दा बढी जितेको स्वर्णसंख्या थियो । सुरुआती पहिलो सात संस्करणमा १५ स्वर्ण जितेको नेपालले १९९९ देखि अहिलेसम्म ९२ स्वर्ण जितिसकेको छ । २० वर्षअघि नेपाल सागमा पहिलो पदकपल्ट तालिकामा दोस्रो स्थानमा पुगेको थियो ।
सागका खेल सुरु भएपछिको पहिलो चार दिनको गति हेर्दा नेपाल दोस्रोपल्ट पदक तालिकामा दोस्रो स्थानमा रहने बलियो सम्भावना देखाएको छ । अझै चार दिनको खेल बाँकी रहेको छ । पहिलो दुई दिन पदक तालिकामै अग्रता लिएको नेपाललाई भारतले उछिनिसकेको छ । भारतले ५८ स्वर्ण जितिसकेको छ । भारतले कम्तीमा स्वर्ण संख्या १ सय नघाउने पर्याप्त आधार छन् ।
सरकारको तर्फबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले सागअघि ५० स्वर्ण जित्ने दाबी गरेका थिए । ‘५० स्वर्ण जित्ने जुन हामीले उद्घोष गरेका थियौं, त्यसनजिक पुगिसकेका छौं । अब हामी ५० स्वर्णमा पुग्छौं,’ सिलवालले कान्तिपुरसँग भने ‘साइक्लिङबाट मैले अझै स्वर्ण आस गरेको छु । जुडोका खेल नै सुरु हुनै बाँकी छ । त्यसबाहेक आर्चरी, एथलेटिक्सको म्याराथन, पौडी, फुटबल र थ्रीबाईथ्री बास्केटबल पनि हामीले स्वर्ण जित्ने खेल हुन् ।’
३६ मध्ये २९ स्वर्ण नेपालको मुख्य आस गरिएको मार्सल आर्टबाटै आएका हुन् । नेपालले तेक्वान्दोबाट १२, करातेबाट १० र उसुबाट ५ स्वर्ण जितेको थियो । मार्सल आर्टको अर्को विधा जुडोका खेल हुन बाँकी नै छ । सन् १९९९ को साफमा पनि नेपालले ३१ मध्ये २८ स्वर्ण मार्सल आर्टबाटै जितेको थियो । त्यसमा तेक्वान्दो र करातेले समान १४ स्वर्ण जितेका थिए । नेपालले ५० स्वर्णको जित्ने उद्घोषको आधार के थियो त ? सदस्य सचिव भन्छन्, ‘मैले हचुवाको भरमा ५० स्वर्ण घोषणा गरेको होइन । हाम्रो राष्ट्रिय टोलीको तयारी, उनीहरूले यो बीचमा अभ्यास खेल र प्रतियोगितामा देखाएको प्रदर्शनको आधारमा ५० स्वर्ण ल्याउन सक्षम छ भनेको हुँ । ५० स्वर्ण पनि कम्तीमा भनेको हुँ ।’ ‘प्याराग्लाइडिङ नभएर हाम्रो आठवटा स्वर्ण त त्यसै गुमिइसकेको छ । सबै खेलको प्रमुख प्रशिक्षक, प्रशिक्षक, खेलाडीसँग लिएको प्रदर्शनको आधारमा त्यसमा पनि घटाएर मैले यो भनेको हुँ । आधारहीन ढंगले मैले भनेको होइन,’ उनले भने ।
उनले अगाडि भने, ‘मैले ५० स्वर्णको घोषणा गर्दा धेरैजना हाँसेका थिए । पछिल्लो सागमा पनि जम्मा ३ वटा मात्र स्वर्ण पाएको हो भनेर भनिरहेका थिए । अहिले नै हामी ५० स्वर्णको हाराहारीमा पुगिसक्यौं । अब स्वर्ण ५० नाघ्छ । साग हुनु अघि खेलाडी, प्रशिक्षक सबैको सकारात्मक प्रतिक्रिया पनि पाएको थिएँ । खेलाडी, प्रशिक्षक र संघहरूमा एउटा उर्जा छाएको छ, सबैभन्दा ठूलो विषय यो हो । सागमा एउटा उद्देश्य बनाउँदा चाहिने पहिलो चिज नै यही हो । लडाइँमा उत्रनुअघि उसको सेनालाई उच्च मनोबलको साथ उतार्न सकेन भने त्यो हार्छ ।’
खेल संख्या थपिँदा पनि नेपालको स्वर्ण पदक बढ्दै गएको हो । १९९९ को सागमा १२ खेलमात्र समावेश थियो । त्यसमा महिलाको विधा निकै कम थियो । अहिले २८ खेल राखिएको छ । साग इतिहासमै यो सबैभन्दा बढी खेलसंख्या हो । यसले पनि नेपालको स्वर्णसंख्या बढाउन मदत गरेको छ । साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण जितेको हो । नेपालले साइक्लिङबाटै ४ स्वर्ण जितिसकेको छ । गल्फबाट पनि नेपालले शुक्रबार स्वर्ण थप्ने छ । नेपालले यसअघि गल्फबाट पदक जित्न सकेको थिएन । भारतीय तेक्वान्दोले अन्तिम आएर मात्र जारी १३ औं सागमा सहभागिता पक्का गरेको थियो ।
भारतीय खेलाडी करातेलगायतका खेलमा सहभागी नहुँदा पनि नेपालले धेरै पदक जितिरहे जस्तो देखिएको छ । भारतको अनुपस्थितिमा नेपालले करातेको १९ मध्ये १० स्वर्ण जितेको थियो । करातेको बाँकी ९ मध्येको ६ स्वर्ण पाकिस्तान र ३ स्वर्ण बंगलादेशको भागमा थियो । ‘तीन साताअघि बंगलादेशमा भएको दक्षिण एसियाली कराते च्याम्पिनसिपमा नेपालले टिम कातामा स्वर्ण जितेको थियो । नेपालले त्यसमा भारतलाई नै फाइनलमा पराजित गरेका थियो,’ स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ भन्छन्, ‘अहिले भारत नभएर जितेको भन्ने आरोपमात्र हुन् । हाम्रा लागि बलियो भनेको पाकिस्तान र श्रीलंका नै हुन् ।’
‘भारत सबैमा नआएको होइन । केही खेलमा प्राविधिक कारणले नआएको हो, अन्तर्राष्ट्रिय रूपमा निलम्बन छन् त्यहाँका खेल संघहरू । तर फुटबल र क्रिकेटमा नआउनेबित्तिकै ग्याप भएको हो कि जस्तो देखिएको हो,’ भारत नआए पनि नेपालको ५० स्वर्ण लक्ष्यमा फरक नपरेको दाबी गर्दै सदस्य सचिव सिलवालले भने, ‘कराते र आर्चरी अन्तर्राष्ट्रिय रूपमा निलम्बन भएकाले भारत नआएका हुन् । तेक्वान्दोमा पनि उनीहरूको समस्या थियो । अदालतबाट फैसला भएर अब कुनै समस्या छैन भनेपछि अन्तिममा भारत खेल्न आएको हो ।’
सागको आयोजना जसले गरेको छ, त्यसले स्वर्णको फाइदा उठाउँदै आएको छ । भारतले आयोजना गर्दा आफ्नो आधिपत्य अझ एकतर्फी स्वर्णको संख्या बढाएको छ भने अन्य आयोजक राष्ट्र बन्दा दोस्रो स्थानको पाकिस्तानलाई चुनौती दिने गरेको छ । भारतलाई चुनौती दिँदै आएको पाकिस्तानले दुईपल्ट दोस्रो स्थान गुमाउन पुगेको छ, १९९१ र १९९९ मा । १९९१ मा श्रीलंकाले र १९९९ मा नेपालले आयोजक बनेर पाकिस्तानलाई उछिनेको थियो । नेपालले अहिले दोस्रो स्थानका लागि पाकिस्तानलाई राम्रो चुनौती तेर्स्याइसकेको छ ।
मंगलबार सागको खेल स्थलहरू सबै भरिभराउ थिए । महिला भलिबल, पुरुष फुटबल, पुरुष क्रिकेट, कराते र तेक्वान्दोको खेल स्थलमा नेपालको खेल हेर्न दर्शक भरिएका छन् । घरेलु टोलीले दर्शकको साथ पाउँदा ‘अतिरिक्त खेलाडी’ लिएर खेलिरहेको अनुभव गरेको छ भने यसले विपक्षी टोलीको लय बिगारदिने गरेको छ ।
साग खेल्न लागेको नेपाली कराते टोलीको एक सम्मान कार्यक्रममा सदस्य सचिव सिलवालले अहिले वाचा नगरे पनि स्वर्णसहित पदक जित्ने खेलाडीलाई राम्रो सम्मान गर्ने घोषणा गरेका थिए । नेपालको खेलकुद व्यावसायिक हिसाबमा अहिले पनि धेरै पछाडि छ । खेलाडीहरू देशको प्रतिनिधित्व गर्दै सम्मान लागि खेलिरहेका हुन्छन् । सागमा पनि खेलाडीहरूले नगदसहितको केही अपेक्षा राखेका छन् ।
सागमा पदक जित्ने खेलाडीलाई सरकारले क्रमशः स्वर्णलाई ५ लाख, रजतलाई ३ लाख र कांस्यलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको छ । मंसिर १० गते सागमा खेल्ने खेलाडीका लागि सरकारले घोषणा कार्यक्रम राखेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताले त्यहाँ स्पष्ट घोषणा हुन सकेन । ओली १० दिने उपचारपछि बिहीबार अस्पतालबाट प्रधानमन्त्री निवास फर्किएका छन् । सिलवलाले भने, ‘प्रधानमन्त्री नै समापन समारोहमा सम्भवतः प्रमुख अतिथि बनेर आउने र देशको कार्यकारी प्रमुखको हैसियतमा समापनमा खेलाडीको पुरस्कार घोषणा हुनेछ । राम्रै पुरस्कार घोषणा हुनेछ, उल्लेखनीय वृद्धि हुनेछ ।’

Page 20
१३ औं दक्षिण एसियाली खेलवुद

दुई राष्ट्रिय कीर्तिमान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एथलेटिक्सको तेस्रो दिन बिहीबार श्रीलंकाले ४ स्वर्ण जित्दा नेपाल पदकविहीन बनेको छ । यद्यपि नेपाली खेलाडीले दुई राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
श्रीलकाले महिला ४ सय मिटर, पुरुष ४ सय मिटर, महिला ट्रिपलजम्प र महिला १ सय मिटर हर्डल्समा स्वर्ण जितेको हो । पहिलो दुई दिन दबदबा कायम गरेको भारत र पाकिस्तानले समान १ स्वर्ण जिते । पुरुष ११० मिटर हर्डल्समा नेपालका जीवन चौधरीले ०.१५ः६० सेकेन्डमा दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले झन्डै दशक हाराहारीमा रहेको कीर्तिमान भंग गरे । सन् २०१० मा ढाका धीरेन्द्र चौधरीले राखेको ०.१६ः१३ सेकेन्डलाई उछिनेका हुन् ।
महिला १०० मिटर हर्डल्समा नेपालकी प्रमिला थारूले पनि राष्ट्रिय कीर्तिमान बनाएकी छन् । उनले ०.१६ः३८ सेकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाइन् । प्रमिलाले सन् १९९७ को कोलकाता साफमा माया थापाले राखेको ०.१७ः९५ सेकेन्डको टाइमिङलाई उछिनेकी हुन् । यसलाई सन् २०१३ मा केशरी चौधरीले ०१५ः०९ सेकेन्डले उछिने पनि त्यो हाते टाइमिङ रहेको थियो ।
पुरुष ११० मिटर हर्डल्समा पाकिस्तानका मोहम्मद नाइमले ०.१४ः३० सेकेन्डबाट स्वर्ण जिते । भारतका सुरेन्दर हायकले रजत र श्रीलंकाका रोशन धानमिकाले कांस्य जिते । सोही विधामा नेपालका चन्द्रदेव जोशीले दौड पूरा गर्न ०.१६ः३९ सेकेन्ड खर्चिए ।
नेपालका सबै खेलाडी हिटबाटै बाहिरिएका थिए । महिला १ सय मिटर हर्डल्समा श्रीलंकाकी लक्सिका सुगन्धले स्वर्ण जित्दा भारतकी अर्पणा रोयले रजत र श्रीलंकाकी इरिसानी साचिपले कांस्य जितिन् । बिहीबारै महिला ट्रिपलजम्पमा श्रीलंकाकी हासिनी प्रादोभले १३.२१ मिटरको जम्पका साथ स्वर्ण र श्रीलंकाकी विधुसा लक्षणले १३.१४ मिटर जम्प गर्दै रजत र भारतकी वैरभी रोयले १२.७७ मिटर जम्प गर्दै कांस्य पदक जितिन् । छैटौं स्थानमा बसेकी नेपालकी शिला चौधरीले ११.०६ मिटर जम्प गरिन् ।
यता पुरुष ट्रिपलजम्पमा भारतका रार्थिक युनिक्रीले १६.४७ मिटरको जम्पका साथ स्वर्ण र भारतकै मोहम्मद सालाहुले १६.१६ मिटर जम्प गर्दै रजत जिते । श्रीलंकाका साफरिन अहमदले १५.९५ मिटर जम्पसाथ कांस्य जिते । १३.५३ मिटर जम्प गरेका नेपालका भुवन महतो अन्तिम स्थानमा रहे ।

१३ औं दक्षिण एसियाली खेलवुद

सन्जुले रचिन् इतिहास

- कान्तिपुर संवाददाता
१३ औं सागअन्तर्गत भारोत्तोलनमा स्वर्ण जितेकी नेपालकी सन्जु चौधरी । इन्सेटमा कांस्य विजेता संगीता ।तस्बिर ः कान्तिपुर

(पोखरा) - नेपालकी सन्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भारोत्तोलनमा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहबाट उनी सागमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी भएकी छन् ।
माटेपानीस्थित एसआर केसी बैंक्वेटमा बिहीबार सुरु प्रतियोगितामा सन्जुले स्न्याचमा ७४ र क्लिन एन्ड जर्कमा ९७ सहित कुल १ सय ७१ केजी उचालेकी थिइन् । उनले राष्ट्रिय कीर्तिमानका साथ स्वर्ण जितिन् । नेपाली भारोत्तोलनले दक्षिण एसियाली खेलकुद इतिहासमा जितेको यो दोस्रो स्वर्ण हो । यसअघि सन् २०१० को कोलम्बो सागमा नेपालका लागि कमलबहादुर अधिकारीले पहिलो स्वर्ण जितेका थिए । साग इतिहासमा भारोत्तोलन सर्वाधिक पदक जित्ने खेल हो ।
बिहीबार श्रीलंकाका आरएमएनएस राजापाक्षेले स्न्याचतर्फ ७० र क्लिन एन्ड जर्कमा ९१ गरी १६१ केजीसाथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्नि एन्ड जर्कमा १६० केजी भार उचाल्दै कांस्य जिते । चार देशका खेलाडीले भाग लिँदा पाकिस्तानी पदकविहीन भइन् ।
गत वर्ष नेपाल पुलिसमा प्रवेश गरेकी सन्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेकी हुन् । उनले यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई दिइन् । उनले आफूलाई निकै खुसी लागेको र सोचेजस्तै लिफ्ट लिन सकेको बताइन् ।
सागमा महिला भारोत्तोलनमा अघिल्लो संस्करणदेखि सहभागिता गराइएको हो । गुवाहाटीमा नेपालले १ रजत र ३ कांस्य पदक जितेको थियो । तीनवटै कांस्य महिलाले जितेका थिए । महिला ५५ केजीको स्वर्ण भारतले जित्यो । बंगलादेश र पाकिस्तानले क्रमशः रजत र कांस्य जित्न सफल भए । भारतकी विन्दारानी देवीले स्न्याचमा ७६ र क्लिन एन्ड जर्कमा १ सय ५ सहित एक सय ८१ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् ।
बंगलादेशकी फुलपोटी चक्माले १४८ र पाकिस्तानकी साइमा सहजादले १३५ केजी उचाल्दै क्रमशः रजत र कांस्य पदक जिते । बंगलादेशीले स्न्याचमा ६३ र क्लिन एन्ड जर्कमा ८५ र पाकिस्तानीले स्न्याचमा ६१ र क्लिन एन्ड जर्कमा ७४ केजी उचाले ।
तुलारामलाई कांस्य
पुरुष ५५ केजीमा तुलाराम महतोले कांस्य जितेका छन् । उनले पनि पहिलो सहभागितौ कांस्य जित्दा स्न्याचमा ८० र क्लिनमा ९८ गरी कुल १७८ केजी उचाले । नेपालसहित श्रीलंका र बंगलादेशले मात्र भाग लिएको यस तौल समूहमा श्रीलंकाका वाईडीआई कुमाराले स्वर्ण र बंगलादेशका राजकुमार रायले रजत जितेका थिए । कुमाराले स्न्याचमा १०५ र क्लिनमा १३० गरी २३५ केजी तथा रायले स्न्याचमा ८० र क्लिनमा १०४ गरी कुल १८४ केजी उचालेका थिए ।
६१ केजीमा भारतीय खेलाडीले स्वर्णमा आफ्नो नाम लेखाए । सिद्धान्त गोगोईले स्न्याचमा ११५ र क्लिनमा १४९ गरी २६४ भार बहन गर्दै स्वर्ण जिते । १ केजीले श्रीलंकन पालुगासिंघे पछि परे । उनले स्न्याचमा ११८ र क्लिन एन्ड जर्कमा १४५ सहित कुल १६३ केजी उचालेर रजत जिते । बंगलादेशका मोस्टाइन बेलाले कुल २३५ केजीबाट कांस्य जिते । उनले स्न्याचमा १०५ र क्लिनमा १३० केजी उचालेका थिए ।


संगीताको कीर्तिमान
संगीता राईले राष्ट्रिय कीर्तिमानसहित कांस्य जितेकी छन् । उनले ४५ केजी तौलमा १ सय २७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको कीर्तिमान तोडिन् । २६ वर्षीया उनले स्न्याचमा ५७ र क्लिन एन्ड जर्कमा ७० गरी कुल १ सय २७ केजी उचालिन् । यसअघि छनोट चरणमा करिनाको नाममा स्न्याचमा ४७ र क्लिनमा ६५ सहित १ सय १२ केजीको कीर्तिमान थियो । यस इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लिन एन्ड जर्कमा ८५ गरी १ सय ५१ केजीबाट स्वर्ण जितिन् । श्रीलंकाकी सिमारी सामाराकुलले १ सय ३९ भार गर्दै रजत जितिन् । श्रीलंकनले स्न्याचमा ५८ र क्लिनमा ८१ केजी उचालिन् ।
४९ केजी महिलातर्फ भारतले स्वर्ण, श्रीलंकाले रजत र बंगलादेशले कांस्य जित्यो । भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लिनमा ८९ गरी १५७ केजी उचल्दै श्रीलंकन हसानीलाई पछि पारिन् । हसानीले स्न्याचमा ७१ र क्लिनमा ८४ गरी कुल १ सय ५५ केजी भार बहन गर्दै रजतमा सीमित भइन् । बंगलादेशकी मोला सविराले १३० केजीसहित कांस्यमा चित्त बुझाइन् । उनले स्न्याचमा ५५ र क्लिनमा ७५ केजी उचालिन् ।
चार दिन चल्ने भारोत्तोलनमा माल्दिभ्सबाहेक
सबै देशको सहभागिता छ । भुटानको यो पहिलो सहभागिता हो । महिला र पुरुषतर्फ ७–७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

 

१३ औं दक्षिण एसियाली खेलवुद

ब्याडमिन्टनमा नेपाल कांस्यमै

- कान्तिपुर संवाददाता

पोखरा (कास)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएका ब्याडमिन्टन प्रतियोगितामा नेपाल कांस्य पदकमा सीमित भएको छ । बिहीबार सेमिफाइनलमा सिंगल, डबल्स र मिक्स डबल्सतर्फका सबै स्पर्धा गुमाएपछि नेपाल कांस्यमा समेटिएको हो ।
बिहीबार सिंगलतर्फ नेपालका रत्नजित तामाङ भारतका आर्यमान टण्डनसँग २१–१८, १४–२१, २१–१८ को सेटमा पराजित भए । डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडी श्रीलंकाका डायस अंगोडा र बी थारिन्दुको जोडीसँग २१–११, २१–१९ को सोझो सेटमा पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो । मिक्स डबल्सतर्फ नेपालका विकास श्रेष्ठ र अनुमाया राईको जोडी भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीसँग २१–१४, २१–१३ को सोझो सेटमा पराजित भएर कांस्यमा सीमित भयो ।
महिला सिंगलतर्फ भारतका अस्मिता चलिदा श्रीलंकाकी अचिनी निमेसिका रत्नासिरीलाई २१–५, २१–७ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगिन् । उक्त इभेन्टमा भारतकी गायत्री गोपीचन्दले श्रीलंकाकी दिल्मी डायसलाई २१–१७, २१–१४ को सेटमा पन्छाउँदै फाइनल यात्रा सुरक्षित गरिन् ।
महिला डबल्सतर्फ श्रीलंकाकी टी प्रमोदिका र के सिरिमांगेको जोडीले भारतका मेघना जकम्पुदी र सिक्की रेड्डीको जोडीलाई २१–१४, २१–१८ को सोझो सेटमा पराजित गर्‍यो । पुरुष सिंगलतर्फ भारतका श्रील बर्माले श्रीलंकाका दिनुका
निसान परेरा करुणारत्नेलाई २१–९ र २१–१२ को सोझो सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरे ।
पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीले पाकिस्तानका मोहम्मद अतिक र रज्जा मोहम्मद हसिनको जोडीलाई २१–१५ र २१–७ को सोझो सेटमा पराजित गरेको छ । मिक्स डबल्सतर्फ श्रीलंकाका डायस अंगोडा र टी प्रमोदिकाको जोडीले बंगलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीलाई २१–८ र २१–९ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो । अर्को खेलमा श्रीलंकाका रत्नासिरी कपुरु र यू को जोडीले भारतका कुहु गर्ग र अनुस्का परिखको जोडीलाई २१–१० र २१–१८ को सोझो सेटमा पराजित गर्‍यो ।

१३ औं दक्षिण एसियाली खेलवुद

फाइनल फेरि भारतसँगै

- कान्तिपुर संवाददाता
पोखरा रंशगालामा बिहीबार माल्दिभ्सविरुद्ध गोल गरेपछि नेपालकी सावित्रा भण्डारी ।तस्बिर ः दीपक/कान्तिपुर

(पोखरा) - नेपाल र भारत फेरि महिला फुटबलको फाइनलमा भिड्दै छन् । रोचक के छ भने, फाइनल अघि नै समूह चरणको खेलमा भारत र नेपाल भिड्नेछन् । सावित्रा भण्डारीको ह्याट्रिक मदतले नेपाली महिला फुटबल टिम १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनल प्रवेश गरेको हो । बिहीबार पोखरा रंगशाला फुटबल मैदानमा माल्दिभ्सविरुद्ध ३–० को जित हासिल गर्दा सावित्राले अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ता नेपाली खेलाडीको कीर्तिमान बनाइन् । यससँगै फाइनलमा महिला टोलीको भिडन्त भारतसँग हुने पक्का भएको छ । माल्दिभ्स र श्रीलंका समूह चरणबाट बाहिरिइसकेका छन् । नेपालले शनिबार भारतसँग समूह चरणको खेल र आइबार फाइनल खेल्नेछ ।
साफ च्याम्पियनसिपमा नेपालका लागि उपाधिको बाधक बन्ने गरेको भारतविरुद्ध ‘होम ग्राउन्ड’ को अवसर गुम्न नदिने उनी बताउँछिन् । पूर्व चर्चित फुटबलर हरि खड्काले महिला फुटबलको प्रशिक्षकका रूपमा काम थालेपछि नेपाल र भारतबीच
तीन खेल भएका छन् । तीमध्ये एउटामा नेपाल, अर्कोमा भारतले जिते भने एउटा खेल बराबरीमा टुंगिएको थियो ।
‘यसपालि हामीले स्वर्ण जित्ने चान्स ५०–५० छ,’ ह्याट्रिकपछि सावित्राले भनिन् ‘यसलाई ब्रेक गरेर सुखद नतिजा ल्याउने योजनामा छु । यसपालि भारतलाई देखाउने बेला आएको छ ।’ प्रशिक्षक
खड्का पनि भारतसँगको खेलमा ५०–५० कै सम्भावना हुने बताउँछन् । ‘माल्दिभ्ससँगको खेलमा पाएको मौका गुमाइयो,’ उनले भने, ‘भारतसँग खेल्दा त्यस्तो हुँदैन ।’ उनले पोखराको फुटबल मैदान सोचेभन्दा राम्रो भएको बताए । ‘एक म्याचपछि नै ध्वस्त हुन्छ भन्ने अवस्था थियो,’ उनले भने, ‘त्यस्तो भएन । सोचेभन्दा राम्रो भयो । कतै–कतै दुबो उप्किए पनि मर्मत भइहाल्यो ।’
सावित्राले खेलको १६ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन् । नीता बस्नेतको पासमा हेड गोल गरिन् । २१ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलमा नेपाल माल्दिभ्समाथि एकलौटी दबाब राख्न सफल भएको थियो । तर पाएका अवसर सदुपयोग गर्न नसक्दा तेस्रो गोलका लागि अन्तिम समयसम्म पर्खिनुपर्‍यो । पहिलो हाफमा २–० ले पछि परेको माल्दिभ्सले दोस्रो हाफमा पनि राम्रो सुरुआत गर्न सकेन ।
नेपालले पनि मौकाको फाइदा उठाउन सकेन । दोस्रो हाफको अतिरिक्त समयमा भने सावित्राले तेस्रो गोल गरिन् । थपिएको अतिरिक्त समयमा गरेको गोलसँगै जारी प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने खेलाडी बनिन् । अतिरिक्त समयमा विपक्षी खेलाडीले सावित्रालाई बक्स एरियाभित्र लडाएपछि नेपालले पेनाल्टीको मौका पाएको थियो । स्ट्राइकर सावित्राले उक्त मौका छाडिनन् र बललाई जाली चुमाइन् । योसँगै माल्दिभ्सले जारी प्रतियोगितामा दोस्रो हार बेहोेरेको छ । यसअघि माल्दिभ्स भारतसँग ५–० ले स्तब्ध बनेको थियो ।
खेलपछि माल्दिभ्सका राष्ट्रिय महिला प्रशिक्षक अहम्मद नासिदले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिए । उनले भने, ‘नेपाली टिम हामीभन्दा राम्रो छ भन्ने थाहा छ । तर पनि हाम्रा खेलाडीले उत्कृष्ट खेल देखाउन भने छाडेनन् ।’ नेपाली टोलीका प्रशिक्षक खड्काले पहिलो हाफ सोचेजस्तै भए पनि दोस्रो हाफमा केही कमजोरी देखिएको स्वीकारे । तर फाइनलसम्म पुग्न ३ अंक चाहिएकाले त्यही अनुरूप नै खेलेको उनले बताए । ‘अवसर धेरै पायौं तर त्यो अवसर हामीले अर्को खेलमा इन्डियाका लागि साँचेर राखेका हौं,’ उनले भने । राउन्ड रोबिन आधारमा भएको खेलमा नेपाल र भारत ६–६ अंकसहित शीर्षस्थानमा छन् । श्रीलंका र माल्दिभ्स अंकविहीन छन् । शनिबार नेपाल र भारतले समूह चरणको शीर्षस्थानका लागि सामना गर्नेछन् । त्यसबाट शीर्ष अंक प्राप्त गर्ने देशहरू २३ गते स्वर्ण पदकका लागि आमनेसामने हुनेछन् । बिहीबार नै भारतले दोस्रो जित निकाल्यो । भारतले श्रीलंकालाई ६–० ले हराउँदै फाइनल निश्चित गरेको हो । भारतको जितमा एन रत्नाबाला देवी र सन्धिया आरले समान २/२ गोल गरे भने डेङमेल ग्रेन्स, रोजा देवीले समान १/१ गोल गरे । नेपाल र भारतले लिग चरणको शीर्षस्थानका लागि शनिबार र फाइनल आइतबार खेल्नेछन् ।
सर्वाधिक गोलकर्ता
अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान सावित्राले आफ्नो नाम गरिन् । उनले बिहीबार पूर्वकप्तान अनु लामाको नामको ३५ गोलको रेकर्ड तोड्दै गोलसंख्या ३८ पु‍र्‍याइन् । यसअघि श्रीलंकाविरुद्धको खेलमा नै कीर्तिमान बनाउने सोचे पनि अवसर सदुपयोग गर्न नसकेको उनी बताउँछिन् । ‘रेकर्ड बनाउँदा खुसी छु,’ उनले भनिन् ।

१३ औं दक्षिण एसियाली खेलवुद

बिच भलिबलमा खराब प्रदर्शन

- कान्तिपुर संवाददाता

पोखरा (कास)– दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपल्ट राखिएको बिच भलिबलमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । १३ औं सागमा बिहीबार लेकसाइडमा सुरु बिच भलिबलमा पुरुष र महिलाको दुवैले हार बेहोरेका छन् ।
नेपालको तर्फबाट बाराहीघाट मैदानमा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनार, राजु विक र सञ्जु शाह, महिलातर्फ विनीता बुढाथोकी र नेविका चौधरी, कोपिता उप्रेती र मनीषा चौधरीको जोडी प्रतिस्पर्धामा उत्रिए ।
पहिलो खेलमा नेपालको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीसँग २५–२३, २१–२३ र १२–१५ को सेटमा पराजित हुनुपर्‍यो । बंगलादेश शेख मोहम्मद साने र मोहम्मद इमरान हैदरको जोडी माल्दिभ्सको अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीसँग १८–२१ र १६–२१ ले पराजित भयो ।
नेपालका राजु र सन्जुको जोडी पाकिस्तानका मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीसँग १४–२१ र १५–२१ को हार बेहोर्‍यो । बंगलादेशको मोहम्मद मोनर हुसैन र मोहम्मद शाहजहाँ अलीको जोडीले माल्दिभ्सका एडम नसिम र मोहम्मद अलीको जोडीलाई १७–२१, २१–१८, १५–१२ को सेटमा हरायो ।
पाकिस्तानका जस्नव खान र अफाख खानको जोडीले बंगलादेशका शेख मोहम्मद साने र मोहम्मद इमरान हैदरको जोडीलाई २१–१९ र २१–१६ को सेटमा सहजै जित्यो । श्रीलंकाका इन्डिका तिरोन र जयन सनुजाको जोडीले नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीलाई २१–१६, २१–१८ ले हरायो ।
पाकिस्तानका रज्जाक र वसिनको जोडीले बंगलादेशका मोनिर हुसैन र मोहम्मद शाहजहाँ अलीको जोडीलाई १८–२१, २१–१८, १५–१० को सेटमा पराजित गर्‍यो । श्रीलंकाका प्रदीप आशंका र असिन कुमाराले नेपालका राजु र सन्जुको जोडीलाई २१–९, २१–११ मा सहजै पन्छायो ।
पुरुषतर्फ जस्नव खान र अफाख खानको जोडी ४ अंकसहित समूह ‘ए’ को शीर्षस्थानमा छ । पाकिस्तानकै मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीले पनि ४ अंकसहित समूह ‘बी’ को शीर्ष स्थान ओगटेको छ ।
महिलातर्फ नेपालका विनीता र नेबिकाको जोडी श्रीलंकाको दीपिका जेडेरा र मधुशानी वेरासिंगेको जोडीसँग १६–२१, २१–१२, ११–१५ को सेटमा पराजित भयो । अर्को खेलमा नेपालकै कोपिता र मनीषा चौधरीको जोडी श्रीलंकाकै लक्षिनी थारूका र दिनेशा प्रशादनीको जोडीसँग ११–२१, १३–२१ ले पराजित हुन पुग्यो ।

१३ औं दक्षिण एसियाली खेलवुद

बंगलादेश फाइनलमा

- कान्तिपुर संवाददाता

पोखरा (कास)– बंगलादेशी टिम बिहीबार १३ औं सागमा महिला क्रिकेटको फाइनलमा पुगेको छ । माल्दिभ्सलाई २ सय ४९ रनले पराजित गर्दै बंगलादेशले फाइनल तय गरेको हो ।
पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको बंगलादेशले पूरा २० ओभर खेल्दै २ विकेट क्षतिमा २ सय ५५ रन बनायो । बंगलादेशका दुई खेलाडीले शतक प्रहार गरे । प्लेयर अफ द म्याच निगार सुल्तानले १ सय १३ र फरगंगा हकले १ सय १० रन जोडेका थिए । दुवै अविजित रहे । ६५ बल खेलेकी सुल्तानले ३ छक्का र १४ चौका प्रहार गरिन् । विस्फोटक ब्याटिङ गरेकी फरगंगाले मात्रै ५३ बलमा २० चौका प्रहार गरेकी थिइन् । बंगलादेशकी समिमा सुल्तान रनआउट भइन् ।
२ सय ५६ रनको लक्ष्य पाएको माल्दिभ्स ६ रनमा समेटियो । माल्दिभ्सकी समा अलीले २ तथा स्माइस र अतिमाथले १–१ रन मात्रै बनाए । दुई रन अतिरिक्त रनका रुपमा पाएका थिए । बंगलादेशको बलिङमा रितु मोनी र सलमा खातुनले समान ३–३ विकेट लिए भने रबेया खान र पूजा चक्रवर्तीले पनि एक/एक विकेट लिए ।

Page 21
१३ औं दक्षिण एसियाली खेलवुद

तेक्वान्दोमा सबैले जिते पदक

- कुशल तिमल्सिना
१३ औं सागमा तेक्वान्दोतर्फ अन्तिम दिन स्वर्ण जितेका नेपालका भूपेन श्रेष्ठका साथ रजत र कांस्य जितेका खेलाडी । तस्बिर ः इलिट जोशी/कान्तिपुर

(काठमाडौं) - १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोतर्फ नेपालले १२ स्वर्ण पदक जितेको छ । यो २० वर्षअघि नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदयता सबैभन्दा उत्कृष्ट नतिजा हो । २९ स्वर्णका लागि भएको स्पर्धामा नेपालका कुनै पनि खेलाडी पदकविहीन रहेनन् ।
सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमीको हलमा प्रतियोगिताको चौथो तथा अन्तिम दिन बिहीबार ६ स्वर्णको छिनोफानो हुँदा ३ नेपाली खेलाडी फाइनलमा पराजित हुन पुगे । प्रतियोगिताको अन्तिम स्पर्धाको रूपमा पुरुष ८७ केजीमुनि भूपेन श्रेष्ठले नेपालका लागि १२ औं स्वर्ण दिलाएका हुन् । आठौं साफमा १६ स्वर्णमध्ये नेपालले १४ स्वर्ण र २ रजत जितेको थियो । यसपल्ट २९ स्वर्णका लागि भएको स्पर्धामा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको छ । यसमध्ये पहिलोपल्ट समावेश भएको पुम्सेबाट ७ स्वर्ण, १ रजत र ५ कांस्य तथा ग्योरोगीतर्फ नेपालले ५ स्वर्ण, ४ रजत र ७ कांस्य पदक जितेको छ ।
बिहीबार भूपेनले भारतका अक्षय हुडालाई २९–२७ अंकको प्रतिस्पर्धात्मक खेलमा पराजित गरी स्वर्ण जितेका हुन् । पहिलो राउन्डमा ८–७ को अग्रता बनाएका भूपेनले दोस्रो चरणमा १४–१२ को जितसहित १९–२० को झिनो अग्रता बनाए । तेस्रो चरणमा लगातार दुई ब्याक किक प्वाइन्टसँगै भूपेनले खेल आफ्नो पक्षमा पारेका हुन् । ‘अगाडि हाम्रा साथीहरू लगातार पराजित हुँदा दबाब परेको थियो । सेमिफाइनलमा बंगलादेशी खेलाडीसँग त्यति कठिन भएन,’ कोटेश्वर डोजाङका उत्पादन २१ वर्षीय भूपेनले भने, ‘फाइनलमा गाह्रो भएको थियो । विपक्षी खेलाडी थाकिसकेका थिए त्यसैले उनको कमजोरी पत्ता लगाएर खेल्न सकें, देशका लागि पदक जित्न पाउँदा खुसी छु ।’
अन्तिम दिन तीन खेलाडी फाइनलमा पराजित हुन पुगे । ७३ केजीमुनि सन् २००६ मा श्रीलंकामा सम्पन्न दसौं सागकी स्वर्ण विजेता मनिता शाहीले फाइनलमा भारतकी मार्गरेट मारिया रेगीसँग १५–० को लज्जास्पद स्कोरमा पराजय बेहोरिन् । कुनै पनि राउन्डमा विपक्षीलाई चुनौती दिन नसकेकी मनिताले तीन राउन्डमा क्रमशः ६–०, ७–० र २–० को हार बेहोरेकी हुन् । यसअघि मनिता श्रीलंकाकी सचिता प्रमोदिनीविरुद्ध २९–२ को जित निकाल्दै फाइनल पुगेकी थिइन् । मार्गरेटले सेमिफाइनलमा बंगलादेशकी श्रवणी विश्वासलाई हराएकी थिइन् । ८० केजीमुनिमा किरणबहादुर आले फाइनलमा पाकिस्तानका रब नवाजसँग ३३–७ अंकले पराजित भए ।
नवाजले एकपक्षीय जित निकालेको खेलको तेस्रो राउन्डमा किरणले पुनरागमन प्रयास गर्दा ढिला भइसकेको थियो । सुरुआती दुई राउन्ड ३–१४, ०–१६ ले पछि परेका उनले तेस्रो राउन्ड ४–३ ले जितेका थिए । किरण पहिलो चरणमा बंगलादेशका मोहम्मद मासुम खानलाई ४५–७ र सेमिफाइनलमा भारतका लक्ष्यलाई ३६–२१ को स्कोरमा पराजित गरी फाइनलमा पुगेका हुन् । पाकिस्तानका नवाजले सेमिफाइनलमा श्रीलंकाका सुरङगा दिहानलाई पराजित गरेका थिए ।
६७ केजीमुनि फाइनलमा अप्सरा कार्कीले भारतकी रुचिका श्रीरांग भाबेसँग ८–५ को स्कोरमा हार बेहोरिन् । पहिलो राउन्डमा ०–४ ले पछि परेकी उनले दोस्रो राउन्डमा २–३ र तेस्रो राउन्डमा ३–१ ले गुमाइन् । अप्सराले सेमिफाइनलमा बंगलादेशकी मोस्ट सल्मा खातुनलाई ८–० को स्कोरमा हराइन् । स्वर्ण विजेता रुचिकाले सेमिफाइनलमा भुटानकी सोनम याङसोलाई ३१–१ स्कोरमा हराएकी थिइन् ।
पुरुष ५८ केजीमुनि तौलमा गोविन्दबहादुर आले सेमिफाइनलबाट माथि जान सकेनन् । पाकिस्तानका हारुन खानसँग ३४–२६ को स्कोरमा पराजित उनले पहिलो चरणमा भुटानका दोर्जी छिरिङलाई ५८–१६ को स्कोरमा पराजित गरे । उनै हारुनले भारतका नीरज दिलीप चौधरीलाई हराएर स्वर्ण जिते । निकै प्रतिस्पर्धात्मक बनेको फाइनलमा हारुनले तेस्रो राउन्डमा सानदार पुनरागमन गर्दै १४–९ ले पछि रहेको स्थिति उल्टाएर २७–१८ को जित निकालेका हुन् ।
नेपालले स्वर्णको आशा गरेकी युनिशा राई पनि सेमिफाइनलमै पराजित भइन् । ४९ केजीमुनि युनिशाले पहिलो चरणमा बंगलादेशकी फरहाना नाज्निन लिपालाई ५६–१७ को स्कोरमा हराइन् । तर भारतकी पूर्वा दत्तात्रय दीक्षितसँग २७–२२ को प्रतिस्पर्धात्मक स्कोरमा पराजित भएपछि उनको स्वर्ण सपना तुहियो । उनै दीक्षितले श्रीलंकाकी इरांगानी पुष्पालाई १४–३ को स्कोरमा हराउँदै स्वर्ण जितिन् ।

तेक्वान्दोका पदक विजेता

स्वर्ण १२
पुम्से
कमल श्रेष्ठ, पुरूष एकल (२३–२९ वर्ष)
सिना मादेन लिम्बू, महिला एकल (१७–२३ वर्ष)
पार्वती गुरूङ, महिला एकल (२३–२९ वर्ष)
आयशा शाक्य, महिला एकल (२९ वर्षमाथि)
सञ्जीवकुमार ओझा र आयशा शाक्य,
युगल (२९ वर्षमाथि)
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना, महिला टिम (१७–२३ वर्ष)
नीता गुरूङ, प्रशंसा क्षेत्री, सुशीला राई, महिला टिम (२३ वर्षमाथि)
ग्योरोगी
काजल श्रेष्ठ (४६ केजीमुनि)
संगीता बस्याल (६२ केजीमुनि)
वीरबहादुर महरा (६८ केजीमुनि)
भूपेन श्रेष्ठ (८७ केजीमुनि)
सक्षम कार्की (८७ केजीमाथि)
रजत– ६
पुम्से
कृष्णबहादुर तामाङ, पुरूष एकल (१७–२३ वर्ष)
ग्योरोगी
निमा गुरूङ (५७ केजीमुनि
अप्सरा कार्की (६७ केजीमुनि)
मनिता शाही (७३ केजीमुनि)
निशा रावल (७३ केजीमाथि)
किरणबहादुर आले (८० केजीमुनि)
कांस्य–११
पुम्से
रेजिन रिमाल, पुरूष एकल (२९ वर्षमाथि)
अस्मिन राउत र सिना मादेन लिम्बू,
युगल (१७–२३ वर्ष)
जितबहादुर बोट र पार्वती गुरूङ, युगल (२३–२९ वर्ष)
शिशिर श्रेष्ठ, अस्मिन राउत र दीपेन्द्र गुरूङ, पुरूष टिम (१७–२३ वर्ष)
कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बू,
पुरूष टिम (२३ वर्षमाथि)
ग्योरोगी
युनिशा राई (४९ केजीमुनि)
अस्मिता खड्का (५३ केजीमुनि)
गोविन्दबहादुर आले (५८ केजीमुनि)
मनोज मल्ल (५४ केजीमुनि)
ज्ञानेन्द्र हमाल (६३ केजीमुनि)
निश्चलमान श्रेष्ठ (७४ केजीमुनि)

१३ औं दक्षिण एसियाली खेलवुद

भुटानको अविश्वसनीय यात्रा

- हिमेश

(काठमाडौं) - खेल सकिएको सिठी के बजेको थियो, माल्दिभ्सका खेलाडी मैदानमै ढले । उनीहरूलाई नतिजामा विश्वास नै भइरहेको थिएन । माल्दिभ्सका खेलाडीको व्यवहारले के देखाइरहेको थियो भने उनीहरू ठूलै उपाधिको फाइनलमा पराजित भएका छन् । खासमा भएको के भन्दा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा बिहीबार माल्दिभ्स भुटानको हातबाट २–१ ले पराजित भयो । यो हारको चोट माल्दिभ्सका खेलाडीले सहनै सकेनन् ।
यसको ठीकविपरीत भुटानी खेलाडीको सीमा थिएन । आखिरमा भुटानले फुटबलको कुनै पनि स्तरमा माल्दिभ्सलाई हराएको यो पहिलोपटक हो । ‘आजको दिन भुटानी फुटबलका लागि ऐतिहासिक साबित भयो,’ प्रशिक्षक पेमाले भने, ‘यो जितमा हामी कति खुसी छौं भनेर भन्न नै सकिरहेका छैनौं । हामी आज जितका लागि पूर्ण हकदार थियौं ।’ नेपाली दर्शक बाक्लो संख्यामा भुटानको समर्थनमा दशरथ रंगशालामा उपस्थित थिए, त्यसैले ती सबै समर्थकप्रति पेमाले धन्यवाद पनि दिए ।
पूरा खेल अवधिमा भुटान अविश्वसनीय रूपमा माल्दिभ्समाथि हाबी रह्यो । सम्भवतः भुटानी खेलाडीले अझ केही सम्हालिएर खेलेको भए, जितको अन्तर अझ ठूलो हुने थिए । त्यसैले पेमाले पनि दाबी गरे, हामी अझ ठूलो अन्तरले जित्नुपर्ने हो ।’ भुटानका लागि सजिलो स्थितिमा गोल गर्न चुक्ने खेलाडी अरू कोही थिएनन्, टिमकै सबैभन्दा ठूला स्टार चेन्चो ग्याल्सेन थिए । तर पूरा खेल अवधिमा टिमलाई गति दिने काम भने उनले नै गरिरहेका थिए ।
माल्दिभ्सको हारमा भने प्रशिक्षक पिटर सेरगेट स्तब्ध जस्तै रहे । उनले भने, ‘भुटान जितका लागि पूर्ण हकदार छ । हाम्रा खेलाडीले खेल्न सकेनन् ।’ तर टिमको खराब प्रदर्शनपछाडि उनले प्रतियोगिताको ढाँचालाई दोष थिए । उनको तर्क थियो, ‘हाम्रा युवा खेलाडीले भरिएको टिमले चार दिनमा तीन खेल खेलेको छ, यस्तोमा राम्रो नतिजाका लागि मैले उनीहरूलाई कसरी दबाब दिने ?’ भुटानका लागि ५५ औं मिनेटमा छिमी दोर्जेले हेडबाट पहिलो गोल गरे ।
कर्नरमा यो गोल सम्भव भएको थियो । यस्तै ८४ औं मिनेटमा फुर्वा थिन्लेले दोस्रो गोल गरे र यो प्राविधिक रूपमा निकै उत्कृष्ट रह्यो । खेलको अन्त्यतिर माल्दिभ्सका लागि हाम्जा महमदले सान्त्वना गोल फर्काए पनि यसले खेलमा कुनै फरक पारेन । यो जितले ५ टिम सम्मिलित प्रतियोगिताको अंक तालिकामा भुटान शीर्षस्थानमा उक्लेको छ । भुटानको तीन खेलबाट ६ अंक भएको छ । माल्दिभ्स भने समान तीन खेलबाट २ अंकमा सीमित रह्यो ।
दिनको दोस्रो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हरायो । बंगलादेशका लागि महबुर रहमानले दसौं मिनेटमा गोल गरे । जितले बंगलादेशको तीन खेलबाट ४ अंक भएको छ र उसले फाइनल पुग्ने आफ्नो सम्भावना जीवन्त पारेको छ । बंगलादेश यो जितले अंकतालिकाको तेस्रो स्थानमा उक्लन पनि सफल रह्यो । श्रीलंका भने दुई अंकमै पुछारमा रह्यो । आयोजक नेपालको ४ अंक छ र दोस्रो स्थानमा छ । नेपाललाई बंगलादेशमाथि गोलअन्तर फाइदा छ ।

Page 22
खेलकुद

ज्ञानेन्द्रको शतक

- विनोद पाण्डे
कीर्तिपुर मैदानमा भुटानविरुद्ध ब्याटिङ गर्दै ज्ञानेन्द्र मल्ल । तस्बिर ः बिजु महर्जन/कान्तिपुर

(काठमाडौं) - कप्तान ज्ञानेन्द्र मल्ल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालबाट उच्च स्कोर बनाउने खेलाडी बनेका छन् । उनको प्रयासमा नेपालले बिहीबार दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटमा कमजोर मानिएको भुटानलाई १ सय ४१ रनले पराजित गरेको छ । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा ठूलो जित हो ।
ज्ञानेन्द्रले ५५ बलमा १ सय ७ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय ३६ रन बनायो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो उच्च स्कोर पनि हो । जवाफमा आएको भुटानले ६ विकेट गुमाई ९५ रनमात्र बनाउन सक्यो । ज्ञानेन्द्रले पूर्वकप्तान पारसको ट्वान्टी–२० मा व्यक्तिगत उच्च स्कोरको कीर्तिमान उछिनेका हुन् । पारसले तीन महिनाअघिमात्र सिंगापुरमा त्रिकोणात्मक शृंखलामा सिंगापुरविरुद्ध ५२ बलमा १ सय ६ रन बनाएका थिए । जुन यसअघिको नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा एकमात्र शतक थियो ।
लजालु स्वभावका ज्ञानेन्द्रले शतक बनाएपछि छोरी बोकेको जसरी खुसी मनाएका थिए । ‘शतक बनाएपछि भावुक भएँ, छोरी भएपछि भावुक हुने रहेछ । छोरीबाट टाढा बस्न गाह्रो हुँदोरहेछ,’ हालै छोरीको बुबा बनेका ज्ञानेन्द्रले सञ्चारकर्मीसँग भने । कप्तान बनेपछि उनको फर्म झनै खस्किरहेको थियो । भुटानसँगको प्रदर्शनलाई कमजोर टोलीसँगको शतक भनेर लिन नहुने जनाउँदै उनले भने, ‘शतक भनेको शतक नै हो । प्रतिद्वन्द्वी जस्तो भए पनि शतक बनाउनु सजिलो कार्य होइन, राम्रो टोलीसँग मलाई अझै उत्कृष्ट गर्नुछ ।’
पारस र ज्ञानेन्द्रले ९ ओभरभित्र पहिलो विकेटमा १ सय २ रन जोडी नेपाललाई सुरुदेखि नै भुटानमाथि दबदबा बनाए । पारस २८ बलमा ९ चौका र १ छक्कासहित ५७ रनमा आउट भए । ज्ञानेन्द्रले ५ चौका र ९ छक्का प्रहार गरे । रोहित पौडेल ६ रनमै आउट भए । दीपेन्द्रसिंह ऐरी २७ बलमा ४ चौका र २ छक्का प्रहार गरी ४५ तथा आरिफ शेख ४ रनमा आउट भए ।
भुटानबाट रन्जुङ दोर्जीले चार छक्कासहित सर्वाधिक २७ रन बनाए । २३ बल खेलेका उनले ललितनारायण राजवंशीलाई एकै ओभरमा दुई छक्का प्रहार गरेका थिए । सोनम टोग्बेयले १५ र टोबेन सिङ्गेले ११ रन बनाए । नेपालबाट पारसले ४ ओभरमा ११ रन खर्चेर २ तथा करण केसी, ललित र पवन सर्राफले १–१ विकेट लिए । नेपालबाट रसिद खानले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए । उनलाई नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले ‘डेब्यु’ क्याप प्रदान गरेका थिए । रसिदले ४ ओभरमा १९ रन दिए ।
कप्तान ज्ञानेन्द्रले आफ्नो टोली स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको जनाए । पहिलो खेलमा श्रीलंकासँग १ सय ७३ रन बनाएर पनि पराजित
भएको नेपालले माल्दिभ्स र श्रीलंकासँग खेल्न बाँकी दुवै खेल जित्नुपर्ने
अवस्था छ । नेपालले शुक्रबार माल्दिभ्ससँग खेल्नेछ ।

खेलकुद

बुढासुब्बा गोल्डकप अनिश्चित

- कान्तिपुर संवाददाता

सुनसरी (कास)– पूर्वर्निर्धारित तालिकाअनुसार बिहीबारदेखि बुढासुब्बा गोल्डकप फुटबलको २२ औं संस्करणको खेल नहुने भएपछि आयोजक धरान फुटबल क्लबले अनिश्चितकालका लागि समय सारेको जनाएको छ ।
मंसिर १९ देखि २८ सम्म धरान रंगशालामा प्रतियोगिता हुने मिति तय थियो । तर आयोजकले नेपालमा १३ औं साग खेलकुदसँगै धरानको उपनिर्वाचन भएकाले निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न नसकेको जनाएको छ । समय सारिएको बताइए पनि कहिले हुने भन्ने स्पष्ट नगरेकाले अन्योल कायमै छ । आयोजक क्लबका अध्यक्ष किशोर राईले भने, ‘यो वर्ष एन्फाले बनाएको क्यालेन्डरअनुसार मंसिरमै प्रतियोगिता गर्नका लागि सबै तयारी गरेका थियौं । तर साग र उपनिर्वाचनका साथै मंसिर २८ देखि फागुन ५ सम्म सहिद स्मारक लिग हुँदै छ । त्यसले प्रतियोगिताको मिति घोषणामा अन्योल सिर्जना गर्‍यो ।’

Page 23
हेल्लो शुक्रवार

मल्लाज जाने बाटो

जिजुबाजेले एक शताब्दीअघि बनाएको दरबारलाई उनैका पनातिले निजी खर्च र उपायबाट रेट्रोफिट गराएपछि मल्लाज बस्तीमा रौनक थपिएको छ ।
- देवेन्द्र भट्टराई

संसारभर कुरियर ओसार्ने अन्तर्राष्ट्रिय कम्पनी डीएचएलका कन्ट्री–म्यानेजर मुकुन्द मल्लले १० वर्ष यो कम्पनीमा काम गरेपछि एक रात सपनामा देखे— मल्लाज ।के थियो मल्लाज ? कहाँ थियो मल्लाज ? उनी सपनामै कुदिरहे ।
भोलिपल्ट बिहानै उठेर झोलीतुम्बा बोक्दै उनी आफ्ना पितापुर्खाको थलोको खोजीमा निस्किए । मल्लाजका बारे किंवदन्तीझैं सुनेको दर्गादिशाका आधारमा मुकुन्द धौलागिरीको पर्वत जिल्ला आइपुगे, बेनी बजारबाट झन्डै १ घण्टा लगातार पूर्वी डाँडो उक्लिएपछि बाबुबाजेको मल्लाज भेट्टाए, अनि यतै जरो गाड्ने सुरसार कसिहाले ।
मुकुन्दले देखेको मल्लाज–सपनाअघिको कुरा गरौं । यो जिजुबाजे समयको कुरा हो, झन्डै डेढ शताब्दीअघिको कुरा । पर्वतको मल्लाजमा जन्मे–हुर्केका तेजबहादुर मल्ल अलिक फराकिलो र उज्यालो संसार खोज्दै नेपाल (काठमाडौं) गएका थिए । खाइलाग्दो ज्यानका उनी नेपाली सेनामा भर्ती मात्रै भएनन्, कर्णेलको तहसम्म पुगे । नामकाम, वैभव र सम्पत्तिसमेत साथमा भएपछि तेजबहादुर फेरि मल्लाज फर्किए । तर, बूढ्यौली बिताउन सुविधायुक्त दरबार बनाउने सोच लिएर ।
तेजबहादुर गाउँ फर्कंदा आफ्ना दुई आर्किटेक्ट सालाहरू कुमार र केदारनरसिंह रानालाई भनेर एउटा दरबार स्टाइलको भवनको नक्सासमेत बनाई मागेर ल्याएका रहेछन् । नरसिंह रानाहरू सिंहदरबार, शीतलनिवासको डिजाइनमा समेत जानकार थिए । त्यो डिजाइनअनुसार काम गर्ने दक्षतायुक्त कामदार भक्तपुरबाट साथैमा ल्याएर र मल्लकालीन शैलीमा माटो, सुर्की, पोलेका इँटाका भरमा २ वर्षमा मल्लाज दरबार बनिएको रहेछ ।

गाउँ फर्किसकेका कर्णेल
तेजबहादुरलाई तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरले फेरि दार्चुलाको बडाहाकिम बनाएर पठाएका रहेछन् । उनी दार्चुला पुगे र उनको त्यतै निधन भयो । यसरी अनेक बलबुता र बर्गत खन्याएर दरबार उभ्याए पनि कर्णेल तेजबहादुरले यो दरबारमा बस्नै पाएनन् ।बाजे इन्द्रबहादुर मल्ल पनि केही वर्ष मात्रै यो दरबारमा बस्न पाए, बाबु जीवनबहादुरको पालादेखि त परित्यक्तझैं रह्यो । बितेको झन्डै ४० वर्ष दरबार बिनासुरक्षा–संरक्षण बस्यो । ११५ वर्षअघि बनेको र समय हिसाबमा ‘हेरिटेज’ भैसकेको यो सम्पत्तिमा न मल्ल परिवारका छोरानातिले ख्याल गरे, न गाउँले रखवाली कोही रहे । बीचको द्वन्द्वकालमा दरबारमा रहेका ऐतिहासिक सामान, बन्दुक, हातहतियार, भाँडाबर्तन सबै खोसाखोस भएको स्थिति रहेछ ।

गाउँ फर्क अभियान
भारतको चण्डीगढबाट मानविकीमा स्नातक मुकुन्दले काठमाडौं फर्केर केही वर्ष सोल्टी प्लाजामा बजार प्रबन्धक भएर काम गरेका थिए, लगत्तै उनी डीएचलको कन्ट्री–म्यानेजर बने । त्यसपछि स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) मा काम गरिरहेकै बेला मल्लाज–सपना देखेर उनी गाउँ फर्केका हुन् ।
‘सन् २०१२ देखि २ वर्षभन्दा बढी दिनरात एक बनाएरै यो दरबार रेट्रोफिटिङमा लागें । चण्डीगढदेखि कर्नाल सिंह भन्ने साथी बोलाएर छानो रिपेयरमा आइडिया लिएँ । सुरुमा मक्किइसकेको स्लेटको छत निकाल्ने र यूपीबीसीको प्रि–फ्याब हाल्ने काम भयो,’ मुकुन्द सम्झन्छन्, ‘नयाँ संरचना थप्नेभन्दा पुराना कुरा कसरी जोगाउने भन्ने ध्याउन्नले बढी दिमाग र समय खायो, निर्माणभन्दा संरक्षणमा बढी पैसा खर्चनुपर्‍यो ।’
आजको पुस्ता सहरमुखी र पैसाकेन्द्रित भैरहेका बेला मुकुन्द आफ्नो प्रतिष्ठाको काम, मनग्य आम्दानी र परिवार सहरमै छाडेर मल्लाज फिरेका छन् । २२ रोपनी क्षेत्रफलमा फैलिएको ‘द हेरिटेज एट मल्लाज’ को ३ तले दरबारमा अहिले स्वदेशीभन्दा विदेशी आगन्तुक सम्पदा हेर्ने पाहुना बनेर आइरहेका छन् । दरबार हेर्न दिनहुँ आउने विद्यार्थी, शिक्षक र अन्य आगन्तुकको संख्या पनि उत्तिकै देखिन्छ ।



मल्लाज गाउँभरि ढुंगाका छपनीले छाएका परम्परागत घरहरू भेटिन्छन् । नेपालमै कहलिएको सुन्तला खेतीको गाउँ बाँसखर्क यही मल्लाजको अर्को छेउमा भेटिन्छ । बेनी बजार, म्याग्दी तातोपानी वा मुस्ताङ जाने यात्रुहरू पनि मल्लाज दरबार हेर्न गाउँ उक्लने गरेका छन् । ‘पाल्पा दरबार भन्नेबित्तिकै खड्गशमशेरले सम्पूर्ण राष्ट्रिय स्रोतसाधन र शक्ति खर्चेर बनाएको दरबार हो । तर, यो भनेको एउटा मल्लाजवासी मल्ल कर्णेलले आफू र आफ्नो परिवार बस्न निजी हैसियतमा बनाएको दरबार हो,’ मुकुन्द भन्छन्, ‘आज मल्लकालीन सभ्यता, संस्कृति र सम्पदाको चिनारी दिने गरी यो दरबारको चिनारी बढेकोमा म आफू गाउँ फर्केकोमा धन्य ठानिरहेको छु ।’



मल्लाज गाउँको नाम अहिले बदलिएर जलजला गाउँपालिका बनेको छ । तर, चिन्नेहरू मल्लाज नामबाटै यो गाउँ र दरबारलाई चिनिरहेका भेटिन्छन् । आश्चर्य के छ भने आज गाउँ फिरेका अधिकांश मल्लाजवासी अफगानिस्तानदेखि इराकसम्म पुगेर अनेक कामकाजमा ‘अनुभवी’ बनेका भेटिन्छन् ।
गाउँको हकहित र प्रचारमा जुटेका अशोक खत्री मलेसियादेखि इराकसम्म बसेर घर फिरेका छन् भने गाउँमै होटल खोलेर बसेका राजेन्द्र जीसी पनि इराककै द्वन्द्वमाझ थोरतिनो कमाइ बोकेर आएका हुन् । मंसिरे दाईंको चटारोमा भेटिएका हरिबहादुर जीसी पनि ८ वर्ष संयुक्त अरबको दुबई बसेर घर फिरेका रहेछन् । यो क्षेत्रकै प्रसिद्ध मल्लाज कोतभगवती मन्दिर निर्माण समितिको अध्यक्ष रहेका क्याप्टेन टेकबहादुर घर्ती क्षत्री भारतीय गोर्खा सैनिकबाट अवकाश लिएर घर फिरेका रहेछन् तर उनको छोरो शेरबहादुर भने अहिले पनि अफगानिस्तमै कामकाजी रहेछन् ।
मल्लाज गाउँको सिद्धेश्वर शिवालयमा पुजारी रहेका ताप्लेजुङ, डुम्रिसेका पुरुषोत्तम अधिकारी पनि आफ्ना ३ छोराको वृत्तान्त टिपाउनमा उत्सुक भेटिए । उनका छोरामध्ये २ जना दुबई र एउटा ओमानमा थुप्रै वर्षयता रोजगारीमा जुटेका रहेछन् । सुन्तला बिक्रीका घरमा घरपरिवार धानिरहेका स्थानीय ज्योतिमण्डल माविका शिक्षक खेमबहादुर खत्रीको एउटा छोरो कोरिया र अर्को अस्ट्रेलियावासी बनेको रहेछ ।



‘बिदेसिने जे जति भए पनि आज यो गाउँ फर्कनेहरू पनि उसैगरी बढेका छन्,’ मल्लाज दरबारको आागनमा गफिँदै मुकुन्द भन्छन्, ‘मैले यो दरबार रेट्रोफिटिङ गर्दा स्काफोल्डिङदेखि अरू प्राविधिक कामसमेत यहीं गाउँकै केटाहरूबाट गराएँ । अरू जे जसो भए पनि सबै केटाले ‘स्किल’ सिकेर आएका रहेछन्, यो एकदमै खुसीको कुरा हो ।’
कर्पोरेट जीवनशैलीबाट वाक्क भएर मल्लाज फिरेका मुकुन्द मल्ल काठमाडौं छँदा बैंकर अनिल शाहदेखि सगरमाथा आरोही विनायक जे. मल्ल, धौलागिरी पस्मिनाका अग्रज शिवकुमार श्रेष्ठसम्मको संगतमा रहन्छन् । फेरि पनि सबैको उस्तै कर्पोरेट जीवन देखेर अनि सहरको कुदाकुद र धपेडीबाट दिक्क भएर दुई/चार दिनमै मल्लाज फिरिहाल्छन् । ‘राम्रो जीवनका लागि मेरो जिजुबाजे मल्लाजबाट काठमाडौं गएका थिए,’ उनी भन्छन्, ‘राम्रो जीवनकै लागि म भने काठमाडौंबाट मल्लाज फर्किएको छु ।’

Page 24
हेल्लो शुक्रवार

बक्स अफिसमा कमाल 

अक्षयकुमार धेरै फिल्म खेल्छन् । र, ती सबै हिट पनि हुन्छन् । यो कसरी सम्भव भइरहेको छ ?
तस्बिरहरू : एजेन्सी

अक्षयकुमारको एउटा फिल्म हलबाट उत्रिसकेको हुँदैन, अर्को फिल्मको ट्रेलर आइसक्छ । वर्षमा सरदर ४ फिल्म खेल्छन् नै । योभन्दा अचम्मचाहिँ उनका सबै फिल्म हिट हुन्छन् । पछिल्लो फिल्म हाउसफुल ४ लाई छोड्ने हो भने अक्षय अभिनीत फिल्मले समीक्षकबाट प्रशंसा पाएका छन् । मिसन मंगल, केशरी, गोल्ड, प्याडम्यान आदि–आदि । बलिउड हंगामाका अनुसार सन् २०१९ मा उनका तीन फिल्मले भारतभित्र ५ सय ५१ करोड भारु कलेक्सन गरेको छ । यो कमाइले उनलाई बलिउड अभिनेतामध्ये शीर्ष स्थानमा राखेको छ । ऋतिक रोशन, सलमान खान, विक्की कौशलजस्ता स्टारलाई उछिनेका छन् । अघिल्लो वर्षचाहिँ दुई र रनवीर सिंह एक नम्बरमा थिए । 
बलिउडमा तीन खान (शाहरूख, आमिर र सलमान) को साम्राज्य डगमगाइहेको छ । शाहरूखको करिअर त साँच्चै संकटमा छ । लालसिंह चड्डाबाट आमिर साख फर्काउने प्रयासमा छन् । सलमानलाई भारतले राहत थियो । तर समकक्षी हिरो अक्षयचाहिँ संख्या र सफल दुवै हिसाबमा अग्रपंक्तिमा छन् । यही कारण हुनुपर्छ, यतिबेला उनलाई बलिउडमा ‘बक्सअफिस किङ’ को पगरी गुथाउन थालिएको छ । अक्षयप्रति आमदर्शकको प्रेम किन पनि घनीभूत हुँदै छ भने पहिले हल्का कमेडी र एक्सनमा मात्र सीमित हुन्थे, अहिले सार्थक सिनेमातिर फड्को मार्दै छन् । र, उनी आफैं पनि भन्न थालेका छन्, ‘बल्ल मैले चाहेकोजस्तो सिनेमा खेल्न पाउँदै छु ।’
अक्षयको संघर्ष नियाल्ने हो भने अहिलेको सफलताको बलियो हकदार लाग्छन् । तीस वर्षअगाडि ‘आज’ नामक सिनेमामा झुल्किएका थिए, पहिलोपटक । राज बब्बर र स्मिता पाटिलको मुख्य भूमिका रहेको यस फिल्मले उनलाई खास फाइदा दिलाएन । त्यसैले सौगन्धलाई उनको खास डेब्यु मानिन्छ । त्यसपछि केही फिल्म खेल्ने अवसर मिल्यो तर सबै फिल्ममा एक्सन भूमिका मात्र हुन्थ्यो । बलिउड फिल्ममेकरमा छाप बसिसकेको थियो, अक्षयले एक्सनबाहेक अरू रोल गर्नै सक्दैनन् । महेश भट्टजस्ता केही फिल्ममेकरले त मुखै फोरेर भनेका थिए, ‘एक्सन गराउनु छ भने अक्षयलाई लिनु, अभिनय गराउनचाहिँ नलिनु ।’ एक्सनकै कारण उनले टन्नै फ्यान त कमाए तर अभिनेताको रूपमा अनेक भूमिकामा आफ्नो अभिनय क्षमता देखाउन पाएनन् ।

 

बीचमा केही कमेडी फिल्मलाई बिर्सने हो भने लगभग पाँच वर्षअगाडिसम्म अक्षय एक्सनमै सीमित थिए तर रुस्तमले उनको अभिनय कौशलको नवीन पाटो उघारिदियो । नत्र यसअघि त सिंह इज ब्लिंक, गब्बर इज ब्याक, बोस, इन्टरटेनमेन्ट, तीस मार खानजस्ता एक्सन–कमेडी फिल्ममा सीमित थिए । जोली एलएलबी २ पनि उनको ख्याति बढाउन सहायक बन्यो । ट्वाइलेट ः एक प्रेमकथाले चाहिँ अक्षयको छवि पूरापूर बदलिदियो, त्यो भनेको उनका सिनेमाका कथा र उनको चरित्र समाजसँग नजिक हुन थाले, जुन पहिले उनीसँग अपेक्षा नै हुँदैन्थ्यो । शौचालय नभएकै कारण पति–पत्नीबीच फाटो आउने दर्दनाक कथा बोकेको यस फिल्मले ३ सय ११ करोड भारु कलेक्सन गर्‍यो । ‘हिरोजस्तो नलाग्ने’ चरित्रमा समेत अक्षयले आफूलाई जीवन्त बनाए । 
प्याडम्यान, गोल्ड, केशरी हुँदै मिसन मंगलसम्म आइपुग्दा अक्षयले वास्तविक कथालाई रोजे । उडन्तेभन्दा समाजमा भएकै घटनामाथि फिल्म खेल्न/बनाउन दिलचस्पी राख्न थालेका छन् । तर सत्यकथा भए पनि उनका फिल्ममा गीत हुन्छन्, ‘हिरोइन’ हुन्छन्, फाइट पनि हुन सक्छ । भनूँ न, बजारले खोज्ने तत्त्वलाई पनि उत्तिकै समेट्छन् । र, यसो किन गर्नुपर्छ भन्नेमा पनि स्पष्ट धारणा छ उनको । इन्डियावेस्ट डटकमसँगको कुराकानीमा भनेका छन्, ‘म डकुमेन्ट्री बनाउन चाहन्नँ । त्यसैले गीत, डान्स, ड्रामा सबै राख्छु । व्यावसायिक मूल्य मुख्य कुरा हो ।’ 
अक्षयको अब लगत्तै रिलिज हुने फिल्म हो, गुड्न्युज । त्यसपछि सूर्यवंशी, लक्ष्मी बम्ब र पृथ्वीराज क्रमैसँग आउनेछन् । यति धेरै फिल्म खेल्ने समय र ऊर्जा कहाँबाट आउँछ ? उनले बरोबर सामना गनुपर्ने सवाल हो यो । जवाफ पनि उस्तै हुनेगर्छ, ‘फिल्म खेल्नेबाहेक मेरो अर्को काम छैन । मेरा लागि फिल्म अझ कम भयो ।’ 
(एजेन्सीको सहयोगमा)

हेल्लो शुक्रवार

प्रविधि विवादका कुरा

- हेलो शुक्रबार

यो अंग्रेजी वर्षमा धेरै नयाँ ग्याजेट बजारमा आए, नयाँ प्रविधिको सुरुआत भए । तर यहाँ चर्चा गर्न खोजिएको नयाँ प्रविधिको नभई प्रविधिसम्बन्धी विवादको हो जसका कारण विश्व राजनीति प्रभावित भयो भने प्रविधि पनि जनसरोकारको विषय हो भन्ने स्थापित बन्यो । यो वर्ष त्यस्ता धेरै घटना भए जसका कारण प्रविधिबारे विश्वभर बहस नै भयो । 
यो वर्षको सबैभन्दा ठूलो प्रविधिसम्बन्धी विवाद चिनियाँ कम्पनी हुवावे र अमेरिकी सरकारबीचको थियो । अमेरिकी सरकारले मे महिनामा हुवावेलाई कालोसूचीमा राख्ने निर्णय गरेपछि अर्को अमेरिकी कम्पनी गुगलले हुवावेलाई आफ्नो प्रविधि प्रयोग गर्न रोक लगाएको छ । गुगलको सेवाबिना पनि हुवावेले बजारमा आफ्नो उपस्थिति बलियो बनाउन हरसम्भव प्रयास गरिरहेको छ । र, फाइभजीमा हुवावेले विकास गरेको प्रविधि पनि प्रयोग नगर्न अमेरिकी मित्रराष्ट्रहरू लागिपरेको विषय पनि यो वर्ष सर्वाधिक चर्चाको विषय भयो । 
फेसबुकले सामाजिक सञ्जालबाहेक पनि अन्य काममा हात हाल्न लागेपछि त्यसको चर्चा नहुने कुरै छैन । त्यसैमध्येको एक हो फेसबुक लिब्रा । फेसबुकले आफूसहित प्रविधि कम्पनीको संलग्नतामा लिब्रा नामक क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने योजना बनाएपछि यसको चर्चा संसारभर भयो । फेसबुक दर्ता भएको देश अमेरिकी अधिकारीहरूले नै यसको चर्को विरोधपछि यो विवादित बनेको छ । 
लिब्राले बैंकिङ प्रणालीलाई धक्का पुर्‍याउने भन्दै यसको आलोचना पनि भएको छ जसका कारण लिब्रा निष्कासनका लागि फेसबुकलाई साथ दिने भनेको २ दर्जनमध्ये अधिकांश कम्पनीले योजनाबाट हात झिकेको घोषणा गरेका छन् । फेसबुकको विवाद यसमा मात्रै सीमित छैन । फेसबुकका मालिक मार्क जुकरवर्गले आफ्नो चर्चित प्लेटफर्म फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको म्यासेजिङ सुविधालाई एकीकृत गर्ने र जसले जहाँबाट पनि म्यासेज गर्न सक्ने सुविधा ल्याउने घोषणा गरेपछि पनि यसको चर्को आलोचना भयो । यसले प्रयोगकर्ताको गोपनीयता भंग गर्ने भन्दै आलोचना भएपछि तत्कालका लागि यो योजना स्थगित छ । 



योबाहेक सामाजिक सञ्जालमा राजनीतिक विज्ञापनहरू कत्तिको उपयुक्त हुन्छ भन्ने विषय पनि यो वर्षभरी चर्चामा रह्यो । चुनावको बेलामा अवफाह फैलाउन प्रयोग हुने भन्दै केही सामाजिक सञ्जाल कम्पनीले राजनीतिक विज्ञापन गर्न नदिने घोषणा गरे पनि फेसबुकले भने त्यसो गर्न नसकिने जनाएको छ । यसको कारण पनि कम्पनी केही समय विवादमा रह्यो ।
यस्तो विवादमा सामसङ पनि अछुतो छैन । संसारभर सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी कोरियन कम्पनीको लागि यो वर्ष केही लज्जास्पद पनि रह्यो । उसले केही वर्षदेखि
चर्चा गर्नै आएको पट्याउन मिल्ने फोन–फोल्डेबल फोन यो वर्ष सार्वजनिक गरेको थियो । अप्रिलमा बजारमा गएको फोन पहिलो दिनमै सबै बिक्री भएको थियो । सामसङले नयाँ प्रविधि भन्दै चर्चा गरेको करिब २ हजार डलर मूल्य पर्ने फोन पहिलो दिनमा सबै बिक्री हुनु त कम्पनीका लागि खुसीको खबर थियो तर प्रयोगकर्ताले चलाउन थालेको केही घण्टामै यसको स्क्रिन फुट्न थालेको खरबर संसारभर फैलियो । कम्पनीले अहिले सबै फोल्डेबल फोन बजारबाट फिर्ता लगेको छ र फेरि बजारमा पठाउने आँट गर्न सकेको छैन । यति ठूलो कम्पनीका लागि यो लज्जाको विषय पनि हो ।
आइफोन निर्माता कम्पनी एप्पलले आफूलाई प्रयोगकर्ताको गोपनीयताको सबैभन्दा बढी सम्मान गर्ने कम्पनीको रूपमा व्याख्या गर्ने गरेको छ । यो वर्ष त उसले नयाँ नारा नै बनायो— आइफोनमा जे हुन्छ, त्यो आइफोनमै रहन्छ । अर्थात्, आइफोन प्रयोगकर्ताको तथ्यांक आफ्नो फोनबाट कही जाँदैन । कम्पनीले यस्तो नारा बनाएकै वर्ष आइफोनको भिडियो च्याट गर्ने एप फेसटाइममा नयाँ समस्या देखा पर्‍यो जसले एक प्रयोगकर्तालाई अर्को प्रयोगकर्ताको आइफोनको क्यामेरासम्म पहुँच दिन्थ्यो । कम्पनीले यसको तत्काल समाधान गर्न नसकेर एप नै केही समयका लागि बन्द गर्नुपर्‍यो ।

हेल्लो शुक्रवार

फेसबुकको तस्बिर सीधै फोटोजमा

हेलो टेक
- कान्तिपुर संवाददाता

गुगल फोटोज स्मार्टफोन प्रयोगकर्ताको अत्यावश्यक एप हो भन्दा पनि हुन्छ । यसले असीमित फोटो क्लाउडमा राख्ने सुविधा दिन्छ जसका कारण प्रयोगकर्ताले अनगिन्ती फोटो तथा भिडियोहरू
आफ्नो स्मार्टफोनमा राख्ने सुविधा पाउँछन् । कम स्टोरेजको स्मार्टफोन भएका प्रयोगकर्ताका लागि झन् नभई नहुने एप हो । योबाहेक, आफूले खिचेका फोटाहरू वर्षौंसम्म गुगल फोटोजमा राख्न पनि यो उपयोगी एप हो । झन् प्रयोगकर्ताले एपबाट मात्रै नभएर इन्टरनेटको सुविधा भए जहाँसुकैबाट यसको प्रयोग गर्न सक्छन् । 
यसै साता फेसबुकले नयाँ घोषणा गरेको छ जसका कारण गुगल फोटोजका प्रयोगकर्ताहरू धेरै खुसी हुनुपर्छ । फेसबुकमा अपलोड भएका फोटो र भिडियो प्रयोगकर्ताले सीधै आफ्नो गुगल फोटोजमा राख्ने सुविधा कम्पनीले यसै साता घोषणा गरेको छ । यो हाल आयरल्यान्डका प्रयोगकर्तामाझ मात्रै सीमित छ । आगामी वर्षदेखि सबै प्रयोगकर्ताले यसको सुविधा पाउनेछन् ।

हेल्लो शुक्रवार

निस्क्रिय एकाउन्ट बन्द गर्ने योजना रद्द

हेलो टेक
- कान्तिपुर संवाददाता

ट्वीटरले आफ्नो प्लेटफर्ममा निस्क्रिय रहेका प्रयोगकर्ताको एकाउन्ट बन्द गर्ने योजना लागि रद्द गरेको छ । गत साता ट्वीटरले सूचना सार्वजनिक गर्दै ६ महिनाभन्दा लामो समयदेखि प्रयोगमा नरहेका एकाउन्ट बन्द गर्ने घोषणा गरेको थियो । ट्वीटर प्रयोगकर्ताहरूले आलोचना गरेपछि कम्पनीले आफ्नो घोषणा कार्यान्वयन नगर्ने भएको हो । ट्वीटरले आफ्नो स्पष्टीकरण दिंदै निस्क्रिय एकाउन्ट डिलिट गरिए मृतकको एकाउन्ट पनि डिलिट हुने र यसले तिनका आफन्त तथा साथीभाइलाई चोट पुर्‍याउने बताएको छ । फेसबुकले मृतकको एकाउन्टमा आफ्नो परिवारलाई तिनका फोटो तथा पोस्टहरू हेर्ने सुविधा दिन्छ, जसमा मृतक लेखिएको हुन्छ । तर ट्वीटरमा यस्तो खालको सुविधा हालसम्म
उपलब्ध छैन ।

Page 25
Page 26
हेल्लो शुक्रवार

वीर वीरबहादुर

राम्रो खेलेर पनि तीन वर्षअघि फाइनलमा चुकेका तेक्वान्दो खेलाडी वीरबहादुर महराले १३ औं सागमा आएर स्वर्णपदक जित्ने सपना पूरा गरेका छन् ।
- कुशल तिमल्सिना
तस्बिरहरू : इलिट जोशी

भारतमा तीन वर्षअघि सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) वीरबहादुर महराको अन्तर्राष्ट्रिय डेब्यु थियो । तैपनि उनले राम्रो गर्ने आशा थियो । गर्दै थिए पनि । फाइनलमा अफगानिस्तानी खेलाडी थोरै अंकले अगाडि थिए । तर, ती अफगान चोटग्रस्त भइसकेका थिए । उनलाई उभिनै गाह्रो थियो । खुट्टा टेक्ने अवस्थामै थिएनन् । तर, रेफ्रीले खेल रोकेनन् । वीरले अंक थप्न पनि सकेनन् र डेब्युमै स्वर्ण चुम्ने मौका चुकाए ।
स्वर्ण चुम्ने त्यो अधुरो सपनालाई उनले १३ औं सागमा आएर स्वदेशमै पूरा गरेका छन् । उनले यसपालिको फाइनलमा पाकिस्तानी प्रतिद्वन्द्वीमाथि वीरता प्राप्त गरे । पुरुष ६८ केजीमुनि तौलसमूहमा वीरबहादुरको पहिलो खेल नै भारतका पृथ्वीराज चौहानसँग थियो । बलियो प्रतिस्पर्धीविरुद्धको पहिलो राउन्डमा उनको सुरुआत राम्रो भएन । पहिलो राउन्डमा ११–९ ले पछि परे । नेपाल पुलिस क्लबका यी २४ वर्षे खेलाडीले सानदार पुनरागमन गरे । दोस्रो र तेस्रो राउन्डमा क्रमस ः १२–६ र ११–७ स्कोरसहित चौहानलाई उनले समग्रमा ३२–२४ ले पराजित गरे । र, फाइनलमा प्रवेश गरे ।
अब उनका प्रतिद्वन्द्वी थिए पाकिस्तानका मुहम्मद फाहिम । जसले सेमिफाइनलमा श्रीलंकाका थारंगा लक्मललाई एकपक्षीय रूपमा हराएका थिए । सिलोङमा अधुरो रहेको सपना पूरा गर्नका लागि अग्ला कदका फाहिमलाई पराजित गर्नु वीरका लागि चुनौती बन्दै थियो । तर दुईपल्ट पछाडि परेर पनि उत्कृष्ट पुनरागमन गरेका उनले आफ्नो आत्मविश्वासलाई अन्तिमसम्म
डगमगाउन दिएनन् ।
पहिलो राउन्ड १५–१३ ले जितेका उनी दोस्रो राउन्डमा १३–८ को आरामदायी अवस्थामा पुगे । तेस्रो राउन्डको अन्तिम १ मिनेट ४१–२७ को अग्रतामा रहेका वीरले रक्षात्मक बन्ने प्रयास गर्दा फाहिमले फाइदा उठाए । स्कोरमा अधिक अन्तर भएका कारण वीरलाई उछिन्न सकेनन् । वीरले समग्रमा ४१–३६ को स्कोरसहित मंगलबार सागमा स्वर्ण सपना पूरा गरे ।
‘१२ औं सागमा मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । फाइनलमा पराजित भएपछि अर्कोपल्ट जित्छु भन्ने सोच बनाए,’ स्वर्ण विजेता वीरले भने, ‘यसपल्ट घरमै प्रतियोगिता हुँदै थियो, स्वर्ण पदक सोचेर खेलेको थिएँ, भनेजस्तै भयो ।’ वीरले यो पदक आफूलाई सफलताको हकदार बनाउने सबैसँग बाँड्न चाहेको सुनाए ।



फाइनलमा भन्दा सेमिफाइनलमा भारतीय खेलाडीसँगको प्रतिस्पर्धा कठिन भएको वीरले अनुभव गरे । ‘सुरुमै भारतका खेलाडी थिए । उनी मेरा लागि नयाँ थिए । मैले उनको खेल देखेको थिइनँ, त्यसैले सुरुमा गाह्रो भयो । तर दोस्रो राउन्डपछि मैले उनको कमजोरी पत्ता लगाए र त्यसैको फाइदा उठाएर जित निकाल्न सकें,’ फाइनलबारे वीरले भने, ‘पाकिस्तानका खेलाडी पनि मेरा लागि नयाँ थिए । तर मैले सेमिफाइनलमा श्रीलंकासँग उनको खेल हेर्न पाएको थिएँ । त्यही खेलपछि बनाएको रणनीति सफल भएको हो ।’
वीरको आक्रामक खेलशैली नयाँ होइन । उनको यही शैलीले नै यहाँसम्मको यात्रा गराएको हो । नेपाली तेक्वान्दोकै परम्परागत समस्या ब्लक र डिफेन्स हो । फाइनलमा उनले धेरै हदसम्म आफ्नो कमजोरी सुधार्ने प्रयास गरे । ‘मैले ब्लकमा राम्रो गरेँजस्तो लागेको छ । सबै किकहरू ब्लक गर्न त सकिँदैन । सकेजति राम्रो गर्ने प्रयास गरेँ,’ वीरले थपे ।
वीरको अबको लक्ष्य ओलम्पिक छनोट हो । त्यसका लागि यतिको तयारीले पुग्दैन भन्ने उनलाई थाहा छ । ‘२०२० को ओलम्पिकमा छनोट हुने लक्ष्य राखेको छु । त्यसका लागि यति तयारीले पुग्दैन । हामीले धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने र नियमित स्तरीय प्रशिक्षण गर्नुपर्छ । त्यसले अनुभव र आत्मविश्वास दुवै बढ्छ,’ १३ औं सागको सफलताको आधारबारे उनले थपे, ‘हामीले १ महिना चीनमा विशेष प्रशिक्षणका साथै २ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पायौं, यसले हामीमा धेरै सुधार भएको थियो । घरेलु समर्थकको साथ त छँदै थियो ।’
कञ्चनपुरका उनले १०/११ वर्षको उमेरदेखि नै तेक्वान्दो खेल्न थालेका हुन् । आफ्नै प्रदेशका दीपक विष्टको सफलता उनको करिअरमा मागदर्शन बन्यो । राष्ट्रिय टिममा परेदेखि नै दीपकबाटै प्रशिक्षित छन् र एकपछि अर्को प्रतियोगितामा राम्रो गर्दै गइरहेका छन् । २०७० सालमा पुलिसमा अनुबन्ध भएपछि वीरको करिअरले उचाइ लियो । सातौं कोरियन एम्बासडर, सातौं र आठौं राष्ट्रिय खेलकुद, राखेप च्याम्पियनसिपमा उनले स्वर्ण जितेका छन् । यसको अर्थ उनी ६ वर्षयता आफ्नो स्पर्धामा अविच्छिन्न राष्ट्रिय च्याम्पियन हुन् ।