You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

म एउटी छाउपडी रिपोर्टर !

- मेनुका ढुंगाना

(अछाम) - म कान्तिपुरको अछाम संवाददाता हुँ, तर यहाँ मलाई धेरैले ‘छाउपडी रिपोर्टर’ भन्दै जिस्क्याउँछन् । खासमा जिस्क्याउने मात्र गर्दैनन्, कहिलेकाहीं गाली गर्छन् र धम्क्याउँछन् पनि । अब त यस्ता घटना सामान्य भइसक्यो ।
मैले यहाँ छाउगोठमा दुःख पाएका, मृत्यु भएका महिलाहरूका बारेमा समाचार लेख्दै आएकी छु । लेख्न त अरू विषयमा पनि लेख्छु तर छाउपडी कुप्रथाविरुद्ध धेरै लेख्ने गरेकाले होला, मलाई यहाँ छाउपडी रिपोर्टर भनेर होच्याउने गरिएको । तर, कुनै बेला आफैं छाउगोठमा बस्नु परेकाले मलाई यसको दुःख–पीडा थाहा छ । खासमा त्यसैले ऊर्जा दिइरहन्छ यसबारे लेख्न–बोल्न ।
तर यो काम सजिलो भने छैन । छाउपडीको समाचारले अछामको बदनाम भयो भन्दै कतिपय राजनीतिक नेता, कर्मचारी र जनप्रतिनिधिले आपत्ति प्रकट गर्छन् । हतोत्साह बनाउन पनि खोज्छन् । अछाममा पछिल्लो दशकमा १४ जना महिला तथा किशोरीले महिनावारी हुँदा छाउपडी गोठमा बसेको अवस्थामा ज्यान गुमाउनुपरेको छ । अरू हजारौं दिदीबहिनीले दुःख भोगिरहेका छन् । अब भन्नुस्, म छाउपडीविरुद्ध लेखूँ कि नलेखूँ ?

छाउप्रथा हटाउने राजनीतिक नारा घोषणामै सीमित भइरहेको समाचार थुप्रै लेखे पनि छाउगोठमा ज्यान गुमाएकी महिलाबारे घटनास्थलमै गएर राम्रोसँग रिपोर्टिङ गर्न पाएको पहिलो घटना तिमिल्सैनकी २१ वर्षीया डम्बरा उपाध्यायको थियो । दुर्ई वर्षअघि महिनावारी भएर छाउगोठमा बसेका बेला उनको निसासिएर मृत्यु भयो ।
डम्बराको दुःखान्तको स्थलगत रिपोर्टिङ लेख्दा मेरा औंला काँपेका थिए । आफूजस्तै दिदीबहिनीले यो कुप्रथाका कारण ज्यान गुमाउनु परिरहेको घटना त्यसपछि मैले नजिकबाट देख्न थालेँ । छ महिनाअघिको एक घटनाले भने मलाई अझै छोइरहन्छ । गत जेठ २७ गते छाउ बार्न छाउपडी गोठमा बसेकी तुर्माखाँद गाउँपालिका–४, जुयगाउँकी १८ वर्षीया पार्वती बुढाको सर्पले डसेर मृत्यु भयो तर गाउँले, जनप्रतिनिधि, स्थानीय स्वयंसेविकालगायतले छाउगोठमा बस्दा मृत्यु भएको कुरा लुकाउनुपर्ने सल्लाह गरे । पार्वतीसँगै सुतेकी उनकी बहिनी राधिकालाई सत्य कुरा नखोल्न सबैले दबाब दिए । नातागोता, चिनजान र इष्टमित्र कसैलाई पार्वतीको अनुहारसमेत हेर्न नदिई गाउँलेले हतारहतार अन्तिम संस्कार गरिदिए ।
मिडियालाई सर्पले टोकेर मृत्यु भएको भन्ने जानकारी दिएर छाउगोठमा ज्यान गएको कुरा बाहिर आउँदैन भन्ने त्यहाँका जनप्रतिनिधिलगायत सरोकारवालाको बुझाइ थियो । त्यो समाचार सुनेर मेरो मनमा चिसो पस्यो । कतै पार्वतीको छाउगोठमै ज्यान गएको त होइन भन्ने कुराले पिरोल्न थाल्यो । त्यही बेला मैले पार्वतीकी दिदी प्रेमकलाबारे थाहा पाएँ ।
प्रेमकलालाई महिनावारी हुँदा महिलालाई गोठमा राख्ने चलन नै चित्तबुझ्दो रहेनछ । त्यसमाथि आफ्नै बहिनी छाउगोठमा मारिएको र गुपचुप अन्तिम संस्कार गरिएकामा उनलाई पीडाबोध भएको रहेछ । फेसबुकलाई धन्यवाद ! प्रेमकलाले आफ्नो मनको बह पोख्दै त्यसमा एउटा स्टाटस पोस्ट गरिन् । अनि मैले उनीसँग म्यासेन्जरमा कुरा गर्न थालेँ ।
समाज एक भएको बेला त्यसविरुद्ध उभिने साहस बटुल्न प्रेमकलालाई सजिलो थिएन । मैले उनको फोन नम्बर मागेँ । अचेल गाउँगाउँमा मोबाइल पुगेपछि सम्पर्क गर्न सजिलो हुन्छ । फोनमा हाम्रो झन्डै ४५ मिनेट कुराकानी भयो । त्यसपछि उनले पार्वतीको छाउगोठमै ज्यान गएको कुरा विस्तारमा बताइन् । छाउगोठमा ज्यान गएको सबैले थाहा पाए गाउँको बेइज्जत हुन्छ र परिवारका सदस्यलाई प्रहरीले लैजान्छ भनेर हतारहतार पार्वतीको दाहसंस्कार गरिएको सबै घटना दिदी प्रेमकला बुढाले सुनाइन् ।
पार्वतीको छाउगोठमा मृत्यु भएको विस्तृत समाचार कान्तिपुरमा प्रकाशित भएपछि हल्लीखल्ली भयो ।
पार्वतीको गाडेको शव निकालेर जिल्ला सदरमुकाममा पोस्टमार्टम गराउनु भन्दै प्रहरी, प्रशासनलाई केन्द्रबाटै दबाब आयो । गाउँमै घटना हुँदा पनि थाहा नपाएझैं गरेका प्रहरीहरू चिहानबाट शव निकालेर ३० कोस टाढाको जिल्ला अस्पताल पुर्‍याएर पोस्टमार्टम गर्न बाध्य भए । तर, त्यसको पीडा प्रेमकलाले नै भोग्नुपर्‍यो ।

उनकै कारण कुहिन लागेको शव बोकेर जिल्ला अस्पताल पुर्‍याउनुपरेकामा गाउँलेले आक्रोश पोखे । समाचार लेख्नेलाई र गाउँबाट जानकारी दिनेलाई मार्छौं भन्ने खालका धम्की आउन थाले । परिवार, समाज, आफन्त कोही प्रेमकलाको साथमा थिएनन् । उनलाई जतिबेला आफन्त र गाउँलेबाट दबाब आउँथ्यो, मलाई फोन गर्थिन् । एक दिन रातको १२ बजेको थियो, प्रेमकलाको फोन आयो । उनले भनिन्, ‘दिदी यो समाजले मलाई बाँच्न नदिने भयो, कि आफैं मर्, कि हामी मार्छौं भन्ने दबाब दिन थाले । मंगलसेन आउँदा तपाइँलाई पनि आक्रमण गर्ने कुरा गर्दैछन् । तपाईं सुरक्षित रहनुहोला । म त अब मर्नलाई तयार भइसकेँ ।’
यो कुरा सुन्दा म आकाशबाट खसेझैं भएँ । मलाई समाचार लेखेकैमा पछुतोजस्तो भयो । एउटी किशोरीको छाउगोठमा ज्यान गएको सत्य घटना लेख्दा उल्टो उनकी दिदीको समेत ज्यान जोखिममा परेको सुन्दा चिन्ताले सतायो, तर प्रेमकलाले यसो पनि भनेकी थिइन्, ‘मैले नै जानकारी दिएको कुरा लेख्नुहोला, यो समाजका विकृतिबारे बोल्न मलाई डर छैन ।’
मैले त्यस रात ३ बज्दासम्म उनीसँग फोनमा कुरा गरेँ । उनको आत्मबल बढ्दै गयो । उता उनकी बहिनीको शव पोस्टमार्टमका लागि मंगलसेन पुगिसकेको थियो । मैले भनेँ जिउँदी प्रेमकलालाई बचाउनु थियो । यता आफू पनि सुरक्षित रहनु थियो । चार दिनसम्म गाडेको शव गाउँबाट बोकेर ल्याउँदा गाउँलेहरू आक्रोशित हुनु स्वाभाविकै थियो । मलाई पनि पटकपटक मार्ने धम्की दिए । ‘तेरै कारणले गाडेको शव ल्याउन बाध्य भयौं, अब तेरो ज्यान जान्छ’ भन्दै नानाथरी कुरा गर्थे ।
म भने जस्तोसुकै परिस्थितिको सामना गर्न आफैंले आफैंलाई तयार पार्दै थिएँ । प्रेमकलाजस्ता थुप्रै किशोरी मेरो साथमा थिए । सबभन्दा खुसीको कुरा प्रेमकलाको साहस साँच्चै बढेका थियो । अहिले उनी दुर्गम गाउँमा महिनावारी हुँदा छाउगोठ नगई आफ्नै घरमा बस्छिन् । महिनावारीका बेला कुनै किशोरी, युवती या महिलाले ज्यान गुमाउनु नपरोस् भन्दै आवाज उठाउँछिन । सिंगो गाउँ महिनावारी बार्नपर्छ भन्ने सोचले ग्रस्त भएको समाजमा उनी यस्ती युवती हुन्, जो एक्लै विद्रोहमा उत्रिएकी छन् ।
तर उनकी बहिनी पार्वतीले भने उसबेला न्याय पाइनन् । उनको शवको पोस्टमार्टम भयो, तर छाउगोठमा सर्पले डसेर मारेको प्रमाणित भए पनि कसैमाथि कानुनी कारबाही हुन पाएन । त्यसलाई त्यसबेला ‘नैतिक अपराध’ मात्र मानिन्थ्यो ।
केहीअघि मुलुकी अपराध संहिता लागू भएपछि भने यसलाई ‘फौजदारी अभियोग’ मान्न थालिएको छ । उक्त संहिताको दफा १६८(३) मा कसैले महिनावारी भएकै कारण छाउगोठ पठाए वा विभेद गरेमा तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ । भर्खरै छाउगोठमा ज्यान गुमाएकी अर्की पार्वतीको घटनामा पहिलोपटक यो कानुन आकर्षित भएको छ ।
अछामको साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको गत मंसिर १५ गते छाउगोठमा निसासिएर मृत्यु भएको घटनामा प्रहरीले बिहीबार उनका जेठाजु छत्र रावतलाई सोधपुछका लागि पक्राउ गरेको छ । पार्वतीका श्रीमान् र सासू–ससुरा कामका लागि भारतमा भएकाले उनी जेठाजु–जेठानीसँग बस्दै आएकी थिइन् ।
यसअघि तुर्माखाद–३ की गौरी बुढा, गाज्राकी रोशनी तिरुवा, रिडिकोटकी शर्मिला भूल, ढकारीकी लक्ष्मी बुढा, बारलाकी झुमादेवी शाही, वीरपथकी डिक्रादेवी ढकाल, पायलकी रतनदेवी विक, झुप्री ढोली र पार्वती दमाई, नाडाकी हंशा जैशी र रानीवनकी हंशदेवी जोशीलगायत दर्जनभन्दा बढीले छाउगोठमै ज्यान गुमाइसकेका छन् । त्यसबेला त यो कानुन पनि थिएन, त्यसैले उनीहरूले न्याय पाउने सम्भावना भएन । अब त अपराध संहिता लागू भएको छ, तर पछिल्लो घटनामा दोषीमाथि कानुनी सजाय हुन्छ या हुँदैन, त्यो भने हेर्न बाँकी छ ।

छाउ प्रथा हटाउनलाई सायद कानुनले मात्र पुग्दैन, चेतनाको युद्ध नै सुरु गर्नुपर्छ किनभने अछामका साबिकका ७५ मध्ये ३१ गाविस छाउगोठमुक्त घोषणा भएका छन्, तर यी गाउँ कागजमा मात्र मुक्त भएका छन् । महिला र किशोरीले अझै उस्तै दुःख पाइरहेका छन् ।
छाउपडी गोठमा बसेका महिला र आमाका साथमा भएका बच्चाको निसासिएर, निमोनिया भएर, कठ्यांग्रिएर ज्यान गइरहेको छ । छाउ हुँदा आमा र बच्चाले दूध, दही खान नहुने भन्ने गलत मान्यताका कारण महिलाको स्वास्थ्य त खराब हुन्छ नै, बालबालिका पनि कुपोषणको सिकार बन्नुपरेको छ । कतिपय अवस्थामा महिला बलात्कारको सिकार हुनुपरेको छ ।
मैले सानामा जे भोगेँ, त्यो नियति अहिले पनि अधिकांशले भोग्नुपर्छ ।
पुसको महिना, रातको १ बजे पहिलोपटक महिनावारी भएको त्यो दिन म कहिल्यै बिर्सन सक्दिनँ । यही समाजमा हुर्के–बढेकी म पनि छाउपडी बार्ने चलनबाट कहाँ अछुतो रहन्थेँ र १ त्यतिबेला ज्यानको जोखिम मोलेर बन्द, होचो छाउगोठमा बस्नु हुँदैन भन्ने पनि थाहा थिएन ।
पहिलोपटक महिनावारी भएकी छोरीले बुबा, दाइ, भाइको मुख हेर्नु हुँदैन भन्ने भनाइ थियो । त्यसैले सुरुमा त कसैलाई भनिनँ, तर पछि डर लाग्न थाल्यो । छाउ भएका बेला घर छँॅदा आगो लाग्ने, बाघ आउने, देउता रिसाउने हुन्छ भन्ने सुनेकी थिएँ । अन्तिममा भन्नैपर्ने भयो । ममी हुनुहुन्थेन, लाज मानी–मानी बुबालाई सुनाएँ । उहाँले टाढा नजान र तल्लो घरको अंकलको सानो गोठमा बस्न भन्नुभयो ।
जब म छाउगोठभित्र पसेँ, तब मलाई मृत्यु आफ्नै वरिपरि घुमेजस्तै लाग्यो । जाडो महिना, होचो गोठ, धूवाँ बाहिर जाने कुनै ठाउँ थिएन । त्यो रात बाँच्न पाए हुन्थ्यो भन्ने डरैडरमा पहिलो रात बित्यो । पहिलोपटक छाउ भएकी छोरीले पहिलो दिन जता बस्यो, नौ दिनसम्म त्यहीँ बस्नुपर्थ्यो । रुँदैरुँदै त्यही गोठमा बसेँ ।
अर्कोपटक ०५४ सालमा रेडक्रस सोसाइटीले पीपलतोलीमा निर्माण गरिदिएको छाउपडी गोठमा बस्नुपर्‍यो । त्यहाँ भने खासै अप्ठ्यारो थिएन । कम्तीमा २२ जना छाउ भएका महिला अँटाउने ठूलो दुइतले भवन थियो, जुन अझै पनि छ । आफूसँगै पढ्ने गाउँका धेरै साथी एकै ठाउँमा हुने भएकाले रातहरू रमाइलो गरी नै बितेका थिए, तर सबै ठाउँमा यस्तो सुविधा कहाँ उपलब्ध हुन्छ र १ धेरै महिला बस्ने भनेको एकान्तको छाउगोठमै हो । त्यहाँ राति के होला ? कसो होला भन्ने डर नै हुन्छ । म छाउगोठमा बस्न थालेको सात वर्ष भइसकेको थियो, एकपटक छाउगोठमै छँदा गम्भीर बिरामी भएँ । राति नै अस्पताल भर्ना हुनुपर्‍यो । केही दिन अस्पताल बसेर घर फर्केकै दिन ममा एउटा दह्रो अठोट आयो– ‘अब छाउ भएका बेला म त्यो गोठमा जान्नँ,’ मेरो मनमा विद्रोही चेत पलायो । अर्कोपटक महिनावारी हुँदा मैले घरकै एक कोठामा बस्न देऊ भनेर परिवारसँग माग राखेँ । परिवारको जोड गोठमै जाऊ भन्ने थियो । मैले ‘तपाईंहरूलाई देउता चाहिन्छ कि छोरी’ भन्दै अडान लिएँ ।
म गोठमा नजाने, बरु रातभर चिसामा बाहिरै बस्ने चेतावनी दिएपछि भान्छाकोठामा खाट लगाएर बस्न दिने सहमति भयो । महिनावारी हुँदा त्यसरी भान्छाकोठामा म दुई वर्षजति बसेँ । त्यतिबेला म रेडियोमा काम गर्थें । बिस्तारै मैले आफ्नै कोठामा बस्न पाउनुपर्ने माग गरेँ । अरूलाई सम्झाउन त्यति गाह्रो थिएन तर ममी, हजुरआमालाई सम्झाउन निकै सकस पर्‍यो । कारण, उहाँहरूलाई छाउपडी कुप्रथा हो भन्ने थाहा थिएन । यसलाई बार्नैपर्छ भन्ने मात्र लाग्थ्यो । ‘आफैं रेडियोमा बोल्ने मान्छे । मैले नै छाउ बारेर समाचार पढ्यो भने अरूले के भन्लान्, आफैं ठूला कुरा गर्छे, आफैं छाउ बार्ने रैछ भनेर दुनियाँले कुरा काट्छन्, मेरा बारेमा तपाईं किन सोच्नुहुन्न ?’ मैले यिनै प्रश्न ममीलाई बारबार गर्दा बल्ल ‘सहमति’ जुट्यो ।
अहिले म महिनावारी हुँदा आफ्नै कोठामा बस्दै आएकी छु तर मलाई ‘छाउपडी रिपोर्टर’को आरोप भने लाग्न छाडेको छैन । मेरो अठोट भने ‘छाउपडी कुप्रथा नहट्दासम्म लेखिरहन्छु’ भन्ने छ ।

मुख्य पृष्ठ

बल ब्वाई बने च्याम्पियन

- राजु घिसिङ
१३ औं सागअन्तर्गत शुक्रबार गोकर्ण गल्फ क्लबमा भएको प्रतिस्पर्धामा सुवास तामाङ । उनले गल्फबाट नेपाललाई पहिलोपटक स्वर्ण दिलाए । तस्बिर ः किरण पाण्डे/कान्तिपुर

(काठमाडौं) - फुच्चे केटो । निकै लुरे । रेन्ज (बल प्रहार गर्ने स्थान) मा बल टिप्थे । पछि बल हान्ने मौका पाए, राम्रो हाने । १–२ होल खेल्न दिइयो, राम्रो गरे । प्रगति गर्दै गए, मौका पाउँदै गए । गल्फ सेट बोकेर खेलाडीको पछिपछि हिँड्ने क्याडीको काम पनि गरे । तिनै सुवास तामाङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को गल्फमा शुक्रबार व्यक्तिगत र टिम स्पर्धामा गरी २ स्वर्णपदक दिलाए ।
रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा ६ वर्षअघि अरूले प्रहार गरेको बल टिप्दै गरेको देखेका दीपक थापाले उनै सुवासको स्वर्ण यात्राका चारै दिनको खेललाई गोकर्ण गल्फ क्लबमा नियाले । त्यो बेला सुवासलाई बल टिप्न अह्राउने थापा यो सागको नेपाली गल्फ टिमका प्रशिक्षक पनि हुन् । ‘ती लुरे फुच्चेले बल टिपेर ४०–५० रुपैयाँ थापेको हिजोजस्तै लाग्छ,’ आरएनजीसीका प्रो थापाले भने, ‘आज आफ्नै सामुन्ने देशकै नाम उचो बनाउने पदक जिते । सागमा स्वर्ण जित्ने हामी सबैको मिसन पूरा गरिदिए । हिरो नै निस्किए ।’
लेले, ललितपुरका सुवासले बंगलादेशका मोहमद फाहरादको चुनौती ८ स्ट्रोकले पन्छाउँदै व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका हुन् । उनले कुल ७२ होलको खेलमा १४ अन्डर २७४ स्कोर गरे । पार ७२ को क्लबमा उनले पहिलो दिन १ अन्डर ७१, दोस्रो दिन ६ अन्डर, तेस्रोमा ४ अन्डर र अन्तिम दिन शुक्रबार ३ अन्डर ६९ को कार्ड बनाए । नौ स्ट्रोकको अग्रता लिएर अन्तिम चरणको प्रतिस्पर्धामा ओर्लिएका उनले भने, ‘हिजो राम्रो खेलेको थिएँ । सबैले आजको (उपाधि होड) थाहा हुन्छ भन्नुभयो । सबैले भविष्यका लागि हुन्छ, राम्रो खेल्नुपर्छ भन्नुभयो । फराकिलो अग्रता भएकाले जित्नेमा ढुक्क थिए । सुरक्षित खेल्दै स्वर्ण जितेँ ।’ दोस्रो दिनबाट अग्रता लिएका उनले उपाधि यात्रामा तनाव महसुस नगरेको पनि बताए । यसअघि ५ अन्डर (सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप २०१९) खेलेका उनको गोकर्णमा हालसम्मकै सबभन्दा राम्रो स्कोर हो, १४ अन्डर । र, नेपाली एमेच्योर गल्फरको सबभन्दा राम्रो स्कोरको कीर्तिमान पनि । उनले गत वर्ष व्यावसायिक गल्फ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि जित्दै सनसनी मच्चाएका थिए । त्यसक्रममा उनले आरएनजीसीमा ७ अन्डर खेलेका थिए ।
यो सागको सफलतासँगै सुवास नेपालको वरीयतामा शुक्रबहादुर राई र टंकबहादुर कार्कीलाई उछिन्दै शीर्षस्थानमा पुगे । उनी विश्व गल्फ वरीयतामा सबभन्दा माथिल्लो (७४१) स्थानमा रहेका नेपाली हुन् । उनले आठौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबबाट टिम स्पर्धामा रजत हात पारेका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा शुक्र, टंक र नीरज तामाङले यो सागको पुरुष टिम स्पर्धामा ८३८ अंक जोड्दै स्वर्ण जितेको हो ।

यसमा बंगलादेश (८५६) ले रजत र श्रीलंका (८७८) ले कांस्य हात पारे । शुक्रले ४ अन्डर २८४ सहित व्यक्तिगत स्पर्धामा कांस्य हात पारे ।
नेपाली टिमलाई सिंगापुरमा किम बाल्दविनले प्रशिक्षण दिएका थिए । बाल्दविनले गोकर्ण आएर पनि एक साता ट्रेनिङ दिए । गल्फ टिमले दुई महिना गोकर्णमा नियमित अभ्यास गर्ने अवसर पाएको थियो । त्यसले दक्षिण एसियाली खेलकुदको महाकुम्भमा गल्फबाट नेपाललाई पहिलोपल्ट पदक जित्न सहज भएको हो । सागमा दीपक थापा र धनबहादुर थापा प्रशिक्षकको भूमिकामा छन् ।
भाग्यको खेल
सुवास १० वर्षको छँदा साथीसँगै आरएनजीसी पुगेका थिए । ४ कक्षा पढेपछि स्कुल छाडेका उनले भने, ‘श्याम दाइले बल टिप्ने काम गर्ने हो भन्नुभयो, मैले ‘हुन्छ’ भनेँ र बल ब्वाई बनेँ । बल टिप्नेमात्रै काम हुन्थ्यो । रमाइलो लाग्थ्यो ।’ उनको काम आरएनजीसीमा आउने सौखिन गल्फरहरूले प्रहार गरेको बल टिप्ने थियो । बल टिप्दै गए, बेला मौकामा अरूकै क्लब (बल प्रहार गर्ने) लिएर आफैं प्रहार गर्न थाले । बेला मौका क्याडी पनि भए ।
बल ब्वाई बनेको ६–७ महिनापछि पहिलोपल्ट उनले बल हान्ने मौका पाएका थिए । त्यसै क्रममा एक दिन टासी घले (नेपाल गल्फ संघका अध्यक्ष) ले उनलाई देखे । बल प्रहार गर्न लगाए । सुवासले राम्रो गरे । त्यसपछि उनले सौखिनहरूको खेलमा बेलुका नियमित अभ्यास गर्ने मौका पाए । चार वर्षजति बल ब्वाई छँदाको अनुभव सुवासले सुनाए, ‘बिहान ६ देखि १२ बजेसम्म बल टिप्थें । त्यसपछि अभ्यास गर्थें ।’
अभ्यासमा राम्रो गर्दै गए । संघको युवा विकास परियोजनामा छनोट भएपछि उनले तीन वर्षयता व्यावसायिक प्रतियोगिता ‘सूर्य नेपाल गल्फ टुर’ मा एमेच्योर खेलाडीका रूपमा नियमित प्रतिस्पर्धा गर्ने अवसर पाइरहेका छन् । थिम्पु, थाइल्यान्ड, बंगलादेश, भुटान, सिंगापुरमा खेल्न पुगे । फाल्डो सिरिज नेपालमा गत वर्ष यू–१६ मा पहिलो भएपछि भियतनाममा गएर एसियाली स्तरमै प्रतिस्पर्धा गरे । यसपालि नेपाल सिरिजको उपाधि जिते र चीन पुगेर एसिया ग्य्रान्ड फाइनल खेले । यसैपालि भुटान ओपन एमेच्योर च्याम्पियनसिपमा तेस्रो भए ।
क्लबको बसाइ
सुवासका आमा, बुबा र भाइ लेलेकै घरमा छन् । उनी भने आठ महिनायता आर्मी अफिसर्स गल्फ क्लबमै बस्छन् । बिहान ६ बजे तयार भएर गल्फ कोर्समा निस्केपछि ५ बजेसम्म बस्छन् । अहिले उनको काम खेल्ने मात्रै हो । ‘दैनिक ८०० बल हान्छु, १८ होल खेल्छु,’ उनले सुनाए । पाँच महिनायता राष्ट्रिय टिम तयारीमा रहेर ट्रेनिङ गरेका उनको विशेषगरी चिप र पट राम्रो छ ।
नेपालमा सातवटा गल्फ कोर्स छन् । उनलाई गोकर्ण गल्फ क्लबमा खेल्न अलि गाह्रो लाग्छ । खासमा १३ औं सागमा उनीभन्दा टंक र शुक्रसँग नेपालले स्वर्णको आशा गरेको थियो । घरेलु एमेच्योर गल्फमा सुवासले उनीहरूसँगै प्रतिस्पर्धा गरिरहेका छन् । सागअघि माथिल्लो वरीयतामा रहेका शुक्र र टंकसँगको प्रतिस्पर्धाबारे सुवासले भने, ‘उहाँहरूसँग खेल्दा दबाब त हुन्छ । उहाँहरू राम्रो सट हान्नुहुन्छ । मलाई पनि त्यस्तै राम्रो हानौं हानौं लाग्छ र प्रयास गर्छु ।’
ड्राइभर २६० फिटसम्म प्रहार गर्ने उनी अबको लक्ष्यबारे भन्छन्, ‘गल्फमै अगाडि बढ्ने मन छ । इन्डियन टुरमा खेल्ने लक्ष्य छ । त्यसका लागि भाषा (अंग्रेजी) जान्नुपर्छ, सिक्नेछु । खेलमा योभन्दा धेरै मिहिनेत पनि गर्नुपर्छ ।’ एसियाको व्यावसायिक गल्फकै प्रतिष्ठित छ, इन्डियन टुर । यसअन्तर्गत थुप्रै प्रतियोगिता हुन्छन् । नेपालका तोरण शाही र शिवराम श्रेष्ठले मात्रै भारतको व्यवसायिक गल्फ टुरको सिजन खेलेका छन् ।
नेपालका पूर्वनम्बर १ गल्फर दीपक आचार्य सुवासमा उत्कृष्ट खेलाडी बन्न सक्ने खुबी भएको बताउँछन् । उनले सुवासबारे भने, ‘अन्तर्राष्ट्रिय गल्फमै राम्रो गर्न सक्ने प्रतिभा देखिएका खेलाडी हुन् । उनी एसियाली स्तरसम्म पुग्ने देखिन्छ । त्योभन्दा माथि पुग्न उनको प्रतिभासँगै शारीरिक क्षमतामा पनि भर पर्छ ।’ उनले यो सागको प्रदर्शनबारे भने, ‘चारै दिन स्कोर अन्डरमा राख्नु धेरै राम्रो हो । १४ अन्डरको स्कोरलाई उत्कृष्ट मान्नुपर्छ । उनले अभ्यासमा सहजै ६–७ अन्डर खेलिरहेका थिए ।’

Page 2
समाचार

बेलायतबाट पहिलो महिला राजदूत

थोराङ्ला–पास नाघेपछिको दृश्यले उनी मोहित बनिन् र साथीभाइलाई भनिन्, ‘मौका पाए फेरि आउनेछु ।’ त्यसको ठीक २० वर्षपछि उनी नेपाल आइपुगेकी छन्, राजदूत बनेर ।
- देवेन्द्र भट्टराई
नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिट् बिहीबार लैनचौरस्थित दूतावासमा छोरासँग । तस्बिर ः संजोग मानन्धर/कान्तिपुर

(काठमाडौं) - २० वर्षअघि ग्य्राजुएसन पढाइ पूरा गरेपछि निकोला पोल्लिट साथीभाइसँगै लन्डनबाट काठमाडौं आएकी थिइन् । नेपालका गाउँघर बुझ्न र प्रकृतिमा रमाउन आएकी उनी सिधै अन्नपूर्णको १७ दिने पदयात्रामा पुगिन् । थोराङ्ला–पास नाघेपछिको दृश्यले उनी मोहित बनिन् । र, साथीभाइबीच आफ्नो चाहना व्यक्त गरिन्, ‘कुनै दिन मौका पाए म फेरि यही भूगोलमा आउनेछु ।’
उनै निकोला अहिले काठमाडौं फर्केकी छन् तर विद्यार्थी वा पदयात्रीका रूपमा होइन, नेपाल र बेलायतबीचको दुई सयवर्षे कूटनीतिक इतिहासमा पहिलो महिला राजदूत बनेर । बिहीबार अपराह्न लैनचौरस्थित बेलायती दूतावासमा भेटिएकी उनले आफ्नै लवजमा नेपालीमा भनिन्, ‘फेरि नेपाल आउन पाएकामा तपाईंले सोचेभन्दा बढी खुसी छु ।’
आफ्नै रुचिमा नेपाल पोस्टिङ छानेर आएको उनले बताइन् । ‘मसहित पाँच जना कूटनीतिक कर्मचारीले नेपाल पोस्टिङ चाहेका थिए तर अन्तर्वार्तामा म छानिएँ,’ उनले भनिन्, ‘१८ महिनाअघि म नेपाल आउने टुंगो भएको थियो । त्यसपछिको १० महिना नेपाली भाषा सिक्नमा खर्चिएँ । आज नेपालीमा कुरा
गर्न सक्छु, नेपालीलाई अझ नजिकबाट बुझ्न सक्छु भन्ने लागेको छ ।’
उनले नेपाल आउनुअघि स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज (सोआस) सम्बद्ध कृष्ण प्रधान (‘कम्प्लिट नेपाली’ पुस्तकका सहलेखक) सँग सुरुवातका केही महिना नेपाली अक्षर सिकेकी थिइन् । पछिल्ला ६ महिना काठमाडौंमा रहेका नेपाली भाषाका गुरुहरू कपिल गौतम तथा पवित्रा पौड्यालसँग स्काइपबाट नेपाली बोल्न सिकेकी थिइन् । उनी नेपालीमा थोरैतिनो लेख्न र पढ्न सक्छिन् भने बोलचालमा राम्रै दक्खल राख्छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन बुधबार शीतलनिवास पुगेकी उनले आफ्नो नियुक्तिबारे नेपाली भाषामा ट्वीट गर्दै धेरै फलोवरको ध्यान तानेकी थिइन् । ‘मैले राष्ट्रपतिसमक्ष नेपाली महिलाको अवस्था, शिक्षा–साक्षरताबारे केहीबेर कुरा गरें,’ उनले थपिन्, ‘म आफ्नो तीनवर्षे कार्यकालमा बेलायती सहयोग नियोगमार्फत नेपाली महिलाको सामाजिक र आर्थिक स्तरोन्नतिबारे केही योजना ल्याउन चाहन्छु ।’
दुई साताअघि मात्रै काठमाडौं उत्रिएकी निकोलाले छाउपडी प्रथाका कारण हालसालै पश्चिम नेपालमा केही महिलाको मृत्यु भएको र सरकारले यसलाई गैरकानुनी भने पनि कुसंस्कार हट्न नसकेको समाचारले मन छोएको बताइन् । छाउपडी प्रथा उन्मूलनका लागि केही काम गर्न सकिन्छ कि भनेर सोचाइ बनाइरहेको उनले बताइन् । ‘महिनावारी बार्ने डरलाग्दो कुरीति नेपालमा रहेछ । आजको युगमा यसरी पनि महिला मरिरहेका रहेछन् । बेलायत सहयोग नियोगको कार्यक्रममार्फत छाउपडीविरुद्ध कार्यक्रम ल्याउन म चाहन्छु । म व्यक्तिगत रूपमा पनि त्यही क्षेत्रमा गएर सकेको सहयोग गर्न चाहन्छु,’ उनले थपिन् ।
सन् २००३ मा बेलायतको कूटनीतिक सेवामा प्रवेश गरेकी उनी ३ वर्ष नर्वे र १८ महिना अफगानिस्तानमा कूटनीतिक कर्मचारीका रूपमा कार्यरत थिइन् । ‘नेपाल–बेलायत कूटनीतिक सम्बन्धको दुई शताब्दी लामो इतिहासमा तपाईंलाई नेपालका लागि पहिलो बेलायती महिला राजदूत भन्दा अचम्म लाग्दैन ?’ प्रश्न झर्न नपाउँदै उनले भनिन्, ‘हो, म पनि अचम्म मानिरहेकी छु । बेलायतमा महिलालाई पुरुषसरह हक–अधिकार छ तर नेपालका लागि म पहिलो महिला राजदूत भएर आएकी रहेछु । खुसी लागेको छ ।’ बर्लिन, पेरिस, न्युयोर्कजस्ता महत्त्वपूर्ण नियोगहरूमा बेलायतबाट अझैसम्म महिला राजदूतको प्रतिनिधित्व हुन नसकेको उनले जानकारी दिइन् ।
निकोला दुई छोराछोरीकी आमासमेत हुन् । अझ काखको छोरो त एक वर्षको मात्रै छ । ‘यो कूटनीतिक जिम्मेवारी एउटी आमाका लागि कत्तिको मुस्किल छ ?’ यो प्रश्नमा उनी अलिक भिन्न देखिइन् । भित्र कोठामा छोरा सुतिरहेको संकेत गर्दै भनिन्, ‘हो, धेरै संघर्ष गर्नुपर्छ आमा भएर । म बिहान ७ बजेसम्म आमा हुन्छु, ८ बजेदेखि राजदूत ।’
उनी आफ्ना श्रीमान् मार्कको नाम बीचबीचमा लिइरहेकी थिइन् । ‘मेरा श्रीमान्ले छोराछोरी हेरेर मलाई सहयोग गर्नुहुन्छ, नत्र मलाई मुस्किल पर्ने थियो,’ उनी भन्छिन्, ‘यसरी नेपाल आउन पाउनु मेरा बच्चाहरूका लागि अत्यन्त रोचक अवसर हो । उनीहरूका नयाँ साथी हुनेछन्, नयाँ भाषा सिक्नेछन् । खानपिन र अरू कुरा पनि नयाँ नयाँ छन् । यो सिकाइ र बुझाइको राम्रो
अवसर हो ।’
लामो कुराकानीको अन्त्यमा बिहीबार साँझ राजदूत निकोला ‘आमा निकोला’ बन्ने समय आइसकेको थियो । ‘तपाईंले नारीवादलाई कसरी बुझ्नुभएको छ ? के तपाईं नारीवादी हो ?’ यो जिज्ञासा सुन्नासाथ उनी जोडले हाँसिन् र भनिन्, ‘म नारीवादी हुँ तर पुरुषविरोधी होइन । किनभने मेरो श्रीमान्ले मलाई छोराछोरी हेरेर काममा पालो दिनुभएको छ । हामी मिलेर घरभित्र र बाहिर सम्हाल्छौं ।’ उनका बुझाइमा, महिलाको हक–अधिकारबारे कुरा गर्नु र अधिकार खोज्नु एकदमै स्वाभाविक कुरा हो । ‘हक–अधिकारका कुरामा म नारीवादी हुँ तर हरेक पक्षमा पुरुषको विरोध गर्ने कुरामा सहमत छैन,’ उनले थपिन्, ‘महिला–पुरुष मिलेर मात्रै घर चल्छ, त्यहीअनुसार समाज पनि चल्छ ।’
निकोलाका अनुसार बेलायतमा महिला हक–अधिकारका हकमा कानुनतः समानता छ । नेपालमा जस्तो कुनै प्रकारको तोकिएको ‘आरक्षण’ भने छैन । ‘उदाहरणका लागि मेरो विदेश विभागमा अधिकांश उच्च अधिकारी महिला छन् । विदेश सेवाअन्तर्गत ५० जति राजदूत, कन्सुलर जनरल होलान्,’ उनी भन्छिन्, ‘हक–अधिकारमा समानता भए पनि पुरुषसँगको प्रतिस्पर्धा त रहन्छ नै ।’
उनका श्रीमान् मार्क पनि नेपाल र नेपालीबारे केही जानकार रहेछन् । ‘मेरा श्रीमान् ब्रिटिस गोर्खा वेलफेयरसँग सम्बद्ध पूर्वसैनिक हुनुहुन्छ । ४ वर्षअघि नेपालमा भूकम्प गएपछि उद्धार समन्वयका लागि बेलायती सेनासँगै उहाँ पनि नेपाल आएर दुई महिनाजति बस्नुभएको थियो,’ उनले सुनाइन्, ‘मजस्तै उहाँ पनि नेपालका हिमाल, पहाड र तराई घुम्न आतुर हुनुहुन्छ ।’
प्रस्तावित राजदूत भएकै बेला निकोला गत दसैंमा तीन साताका लागि नेपाल आएकी रहिछन् । त्यसबेला पोखरा, गोर्खा, लुम्बिनी, धरान, भेडेटार घुमघाममा उनी पुगेकी रहिछन् । ‘नेपाली भाषा राम्रोसँग अभ्यास गर्नका लागि म मौका पाउनासाथ नेपाल आएकी थिएँ, त्यसबेला गोर्खा दरबारमा भइरहेको दसैंपूजासमेत हेर्न पाएकी थिएँ,’ उनले सुनाइन्, ‘जे–जति नेपाली गाउँठाउँ घुम्न पायो, उति नेपाली बोल्न पाइने भएकाले भाषा सिक्नका लागि म हत्ते गर्दै आएकी थिएँ ।’
उनको बुझाइमा नेपाल–बेलायत सम्बन्धमा गोर्खा सैनिकको महत्त्वपूर्ण स्थान छ । बेलायत सरकारले नेपालको विकास कार्यक्रमका लागि दिँदै आएको साथ–सहयोगको निरन्तरतामा उनी ढुक्क थिइन् । आगामी अप्रिलमा काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय तहको सगरमाथा संवादमा बेलायतबाट उच्च तहको सरकारी प्रतिनिधित्व हुने संकेत पाइसकेको बताउँदै उनले थपिन्, ‘यसपटक नेपालले बहसमा राखेको जलवायु परिवर्तनको विषय हाम्रा लागि पनि उत्तिकै
महत्त्वपूर्ण छ ।’

समाचार

दुर्गम गाउँमा पाँच दिन

- घनश्याम खड्का

(काठमाडौं) - उनलाई भनिएको थियो– गरिब समुदायका मानिसलाई उन्नत जातको बीउबिजन दिइएको छ, बाख्रा पाल्न लगाइएको छ र खोर बनाएर कुखुराका चल्ला बाँडिएको छ जसमा वादी समुदाय पनि पर्छ ।
आफ्नो सहयोगले तिनका जीवनमा कस्तो सहयोग पुगेछ त भनेर हेर्न गत साता नेपालका लागि युरोपेली युनियनकी राजदूत भेरेनिका कोडी सुदूरपश्चिम पुगिन् । डडेलधुराको दुर्गम गाउँमा धारो बनेको, कुनै समयका कमैया थारूहरूले खेती–किसानी गर्न थालेको र तरकारी उमारेर बेचेको देख्दा उनलाई खुसी नलाग्ने कुरै भएन ।
जब वादी बस्तीमा पुगिन्, उनको अनुहारमा देखिएको सन्तुष्टि गायब भयो । ‘त्यहाँ उनीहरूले उमारेको तरकारी र अन्नबाली अरूले नै लिइदिएछ,’ उनले बिहीबार कान्तिपुरसँग भनिन्, ‘उनीहरूसँग आफ्नो भन्ने जमिन नै रहेनछ, जसको जमिन हो उसले खेती र तरकारी आफैंले राखेछ, कस्तो दुःखलाग्दो अवस्था ।’
पुनःस्थापनाको अवस्थामा रहेको वादी समुदायलाई मद्दत पुगोस् भनी गरेको सहयोग काम नलागेको देख्दा नरमाइलो लागेको उनले बताइन् । ‘सुदूरपश्चिमका कुनाकाप्चामा पुगेर हेर्दा मैले मानिसहरूमा ग्रामीण कृषिमा दिइएको अनुदानले केही न केही परिवर्तन भएको पाएँ,’ उनी भन्छिन्, ‘तर आफूसँग जमिन नभएकाले वादी समुदायले लाभ लिन सकेनछ । अब यसो हुन दिनुहुन्न ।’ कोडीले नेपाल सरकारलाई ती भूमिहीन वादी समुदायका मानिसलाई जमिन दिन आग्रह गरिन् । ‘जबसम्म आफ्नै जमिन हुँदैन, तबसम्म उनीहरूको उन्नति सम्भव छैन,’ उनी भन्छिन्, ‘पुरानो पेसामा नफर्किउन् भन्नका लागि पनि वादी समुदायको उत्थान आवश्यक छ ।’ नेपाल आएको दुई वर्षमा पहिलो पटक गरिबी, अशिक्षा र अनेक असुविधाहरूका माझ बाँचिरहेका ग्रामीण समाजसँग पाँच दिन बिताएकी उनलाई युरोपियन युनियनले गरिरहेको विकास अनुदान राम्रोसँग कार्यान्वयन किन हुन जरुरी छ भन्ने बोध भएको छ ।
‘ईयू नेपालको ठूलो विकास साझेदार हो र यहाँ हाम्रो सप्तवर्षीय सहयोग परियोजना चलिरहेको छ, त्यसको प्रभावकारी कार्यान्वयन हुन सक्यो भने यी गरिब मानिसका जीवनमा धेरथोर प्रभाव अवश्य आउँछ,’ उनी भन्छिन्, ‘त्यसैले प्रत्येक परियोजनाहरूले उचित लाभ दिए/नदिएको सुनिश्चित गर्न हामी लागिपरेका छौं ।’
सन् २०२० सम्मका लागि ईयूले नेपालको विकासका लागि ३५० मिलियन युरो (झन्डै ४५ अर्ब) को सातवर्षे अनुदान सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यो परियोजना दिगो ग्रामीण विकास, शिक्षाको सबैमा पहुँच र लोकतन्त्रको सवलीकरणका क्षेत्रमा बढी सक्रिय छ ।
सुदूरपश्चिममा महिलाले मासिक धर्म हुँदा छाउपडीका नाममा गोठमा बस्नुपर्ने अवस्थाले पनि उनलाई दुःखी बनाएको रहेछ । यसलाई जसरी पनि बदल्नुपर्ने उनी बताउँछिन् । ‘नेपालले धेरै वर्ष अस्थिरतामा गुजार्नु परेकाले विकास गर्ने अवसर पाएन,’ उनले भनिन्, ‘अब एकजुट भएर अघि बढ्यौं भने छिट्टै प्रगति गर्न सकिन्छ ।’

समाचार

निजगढ विमानस्थलको काम अघि नबढाउन आदेश

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रूख कटान गर्ने योजना यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले शुक्रबार दुवै पक्षलाई छलफलका लागि झिकाउँदै त्यतिन्जेल रूख काट्ने, निर्माणस्थलबाट बुट्यान हटाउने लगायतका काम अघि नबढाउन आदेश दिएको हो । बिनायोजना हचुवाको भरमा लाखौं रूख काट्दा वातावरणीय विनाश निम्तिने भन्दै पूर्वसचिवहरू द्वारिकानाथ ढुंगेल, सुकदेव खत्रीलगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
हाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थल क्षेत्रमा चार किल्ला र सीमांकन, तारबारको काम गरिसकेको छ । निर्माण क्षेत्रभित्र पर्ने दुइटा नदी नियन्त्रणको काम जारी छ । यस परियोजनाको बाहिरी सडक निर्माणका लागि नेपाली सेनासँग प्राधिकरणले समझदारीपत्रमा हस्ताक्षर गरेको छ । प्राधिकरणले उक्त क्षेत्रमा कार्यालय स्थापना गरेर ९० बिघा निजी जग्गामध्ये ६६ बिघा अधिग्रहण गरिसकेको छ । यसक्रममा करिब ८० करोड रुपैयाँ वितरण भएको छ । रूख काट्न भने सुरु भएको छैन । प्राधिकरणका अनुसार नेपाल सरकारले आन्तरिक स्रोतबाट डेढ अर्ब रुपैयाँ खर्चिसकेको छ । सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा अघि सारेको यस परियोजना निर्माणका लागि स्वीट्जरल्यान्डको ज्युरिच इन्टरनेसनल एयरपोर्टलाई छनोट गरिसकेको छ । लगानी बोर्डले यो कम्पनीसँग विस्तृत प्रस्ताव मागेको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् १९९२ मा भएको थाई एयरवेज इन्टरनेसनलको एयरबस र त्यसको दुई महिनापछि पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एयरबस ३०० विमान दुर्घटनापछि नेपाल सरकारले काठमाडौं उपत्यकाको विकल्पका रूपमा तराईमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको थियो । त्यही घोषणाअनुसार २६ वर्षअघि पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उपयुक्त स्थान पहिचान गर्न नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसेज सेन्टर लिमिटेड (नेपिकोन) लाई जिम्मा दिइएको थियो । नेपिकोनले सन् १९९५ मा निजगढ क्षेत्रलाई भौगोलिक, प्राविधिक तथा आर्थिक सम्भाव्यताको दृष्टिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सर्वाधिक उपयुक्त रहेको प्रतिवेदन सरकारलाई दिएको थियो ।

समाचार

कर्मचारीसँगै ‘घूस’ लिन्थे प्रजिअ रिजाल

दोलखाको मेलुङ र कालिञ्चोकका तीन जनासँग घूस लिएको आरोपमा गृह मन्त्रालय तानिएका खगेन्द्रप्रसाद रिजालले बिगुका दुई कर्मचारीसँग पनि रकम असुलेको खुलेको छ
- बिनु सुवेदी,राजेन्द्र मानन्धर

(काठमाडौं/दोलखा) - सर्लाहीका रामनरेश यादव सरकारी जागिर सुरु गरेको ३० वर्षमा पहिलो पटक गत भदौ ४ गते प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छिरे । उनलाई दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले फोन गरेर बोलाएका थिए । उनको साथमा दोलखाको बिगु गाउँपालिका– १ का कार्यालय सहयोगी राजु श्रेष्ठ पनि थिए । श्रेष्ठ पनि रिजालले बोलाएरै उनको कार्यकक्षमा पुगेका हुन् ।
लामाबगर स्वास्थ्यचौकीका सिनियर अहेव यादवले बिगु गाउँपालिका–१ को सचिवको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । ‘हामी कार्यकक्षभित्र छिर्नेबित्तिकै सीडीओ सापले ढोका थुन्नुभयो,’ शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालय परिसरमा भेटिएका यादवले सम्झिए, ‘उहाँले तिमीहरूविरुद्ध बिगु–१ का केही व्यक्तिले बेइज्जती हुनेखालका उजुरी दिएका छन्, के कसो हो भनेर सोध्न बोलाएको हो भन्नुभयो ।’ तर रिजालले कसले के उजुरी दिएको छ भन्ने खुलाएनन् ।
केही समयअघि यादव र श्रेष्ठको बिगुकै एक महिलासँग झगडा परेको थियो । त्यसलाई स्थानीय बासिन्दाले मिलाइसकेका थिए । ‘त्यसबाहेक गाउँलेसँग हाम्रो कुनै दुस्मनी थिएन,’ श्रेष्ठले भने ।
यादवका अनुसार उनीहरूले ‘आफूहरूले केही पनि गल्ती नगरेको’ भन्दै कसले के उजुरी दिएको हो भनेर सोधेका थिए । रिजालले जवाफको सट्टा धम्की दिए । ‘उहाँले हामीलाई पुलिस लगाएर थुनिदिन्छु भन्नुभयो, तिमीहरूको जागिर जान्छ, बदनाम पनि हुन्छौ भन्नुभयो,’ यादवले भने ।
सिंगो जिल्ला हाँकिरहेका रिजालले बन्द कोठामा यसरी धम्क्याएपछि यादव र श्रेष्ठले चुपचाप उनको कुरा सुने, रिजाल बोल्दै गए । अन्त्यमा दुवैले धरौटीबापत १/१ लाख रुपैयाँ बोकेर भदौ ७ गते जिल्ला प्रशासन कार्यालय जानुपर्ने ‘म्याद’ पाए । प्रजिअ रिजालले उनीहरूलाई नखुलेको गल्तीको धरौटीबापत त्यो रकम मागेका थिए । गाउँ फर्किएर उनीहरूले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलाई प्रजिअ रिजालसँग भएको कुराकानी र उनले पैसा मागेको बारे सुनाए । ‘सीडीओले धरौटी नै मागेको भए पक्कै केही होला, बाँकी कुरा बुझ्दै गरौंला, अहिले पैसा बुझाउनू,’ वडाध्यक्ष हिरण्यलाल गुरुङले सुझाव दिए । र, एक लाख रुपैयाँ सापटी पनि दिए ।
उनीहरूले भदौ ७ गते प्रमुख जिल्ला अधिकारीलाई उनकै कार्यकक्षमा गएर पैसा बुझाए । ‘तर हामीले पैसा बुझाएबापतको रसिद पाएनौं,’ श्रेष्ठले भने, ‘सीडीओ सापले असोज ७ गते फेरि प्रशासन कार्यालयमा हाजिर हुन म्याद दिनुभयो ।’
त्यतिखेर पनि रिजालले उनीहरूसँग पुरानै शैलीमा १/१ लाख रुपैयाँ ‘धरौटी’ मागे । रिजालको निर्देशनअनुसार उनीहरूले असोज १४ गते पैसा बुझाउनुपर्थ्यो । त्यो बेला श्रेष्ठले सहकारीबाट ऋण निकालेर बुझाए । यादवले सामाजिक सुरक्षा भत्ता बाँड्नका लागि गाउँपालिकाबाट लिएको रकम प्रमुख जिल्ला अधिकारी रिजाललाई दिए ।
तर तपाईंहरूले यो विषयमा त्यही बेला किन सार्वजनिक रूपमा बोल्नुभएन ? कान्तिपुरको प्रश्नमा यादव र श्रेष्ठ दुवैको प्रतिप्रश्न छ, ‘जिल्लाको सबै अधिकार भएको सीडीओले थर्काएर तिमीहरूलाई थुनिदिन्छु भनेपछि हामी कसरी बोल्न सक्छौं ? फेरि गाउँलेहरूले पनि उहाँको विरुद्धमा कतै नजानु, फसाइदिनुहुन्छ भनेर सुझाव दिएका थिए ।’
दोस्रो पटक पनि उनीहरूले प्रजिअ रिजालको बन्द कोठामै रकम बुझाए र धरौटीबापत बुझाएको भनिएको रकमको रसिद पाएनन् । ‘उही कुरा दोहोरिएपछि मलाई यहाँ केही न केही गडबड छ भन्ने लागेको थियो,’ बिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत प्रतिनिधि भएर बसेको प्रजिअविरुद्ध कहाँ उजुरी गर्ने ? त्यसैले मुद्दालाई राजनीतिक तहबाटै सल्टाउनुपर्छ भनेर मैले असोजमै गृहमन्त्री रामबहादुर थापालाई भेटी यो विषयमा बताएको थिएँ ।’ उनका अनुसार थापाले ‘मन्त्रालयमा उजुरी दर्ता गराउनू, म कारबाही गर्छु’ भन्ने आश्वासन पनि दिएका थिए । मन्त्रीले आश्वासन दिएको खबर पाएपछि यादव प्रजिअ रिजालले आफूहरूसँग बारम्बार पैसा असुलिरहेको निवेदन लिएर असोज १६ गते गृह मन्त्रालय पुगे । तर कर्मचारीले गृहमन्त्रीको तोक नभएसम्म दर्ता नगर्ने अडान लिए । यादवले गृहमन्त्री भेट्न पाएनन् । गृहमन्त्रीसँग समन्वय गर्ने गाउँपालिका उपाध्यक्ष ओली दोलखा फर्किसकेका थिए ।
गाउँपालिकाका पदाधिकारीहरूले यादव र श्रेष्ठलाई रिजालले लगेको रकम जसरी भए पनि फिर्ता गराउने आश्वासन दिइरहेका थिए । ‘दसैंको मुखमा त्यत्रो पैसा दिनुपर्‍यो,’ यादवले भने, ‘दसैं त यसोउसो टारेर फर्किएँ, तिहार र छठ मनाउन सर्लाही जान पाइनँ ।’ यादवको अहिले सर्लाही सरुवा भइसकेको छ तर पैसा फिर्ता गरी वडाध्यक्षको ऋण तिरेर मात्रै सरुवा भएको ठाउँमा रमाना हुने उनको योजना छ ।
मन्त्रालयमा तानिए
रिजाल तिनै प्रमुख जिल्ला अधिकारी हुन्, जो मुद्दा सल्टाउने क्रममा पैसा असुलिरहेको भनेर पीडितले पत्रकार सम्मेलन गरेपछि शुक्रबारदेखि जिम्मेवारीबाट हटाइएका छन् । उनको ठाउँमा सुदर्शन श्रेष्ठलाई निमित्त जिम्मेवारी दिइएको छ । रिजाललाई मुद्दाका क्रममा दस्तुरभन्दा बढी पैसा लिएको आरोप लागेपछि मन्त्रालयले फिर्ता बोलाएको हो । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उनले अवैध रकम असुलेको भाइरल भएको थियो । ‘शुक्रबार उहाँ कार्यालय नआई जानुभयो,’ निमित्त प्रजिअ श्रेष्ठले भने । एकैदिन दुई जनासँग घूस लिएको प्रतिवादीहरूले दाबी गरे पनि उनले आरोप अस्वीकार गर्दै आएका छन् । उनले पीडितलाई क्षतिपूर्ति भराउन प्रतिवादीसँग रकम लिएको दाबी गरेका छन् । ‘पीडितलाई क्षतिपूर्ति दिलाउनकै लागि रकम लिइदिएको हुँ,’ उनले भने ।
अभद्र व्यवहारको मुद्दाका अभियोगी मेलुङ गाउँपालिका–४, भेडपुका कुमार लामा, सार्वजनिक सुरक्षाविरुद्धको मुद्दाका आरोपी कालिञ्चोक गाउँपालिका–१ का २८ वर्षीय इन्द्र पाख्रिन तथा उनका ५१ वर्षीय बाबु उदिम तामाङले रिजालले घूस दिएको दाबी गरेका हुन् । दुवै मुद्दाका आरोपीलाई रिजालले धरौटीमा छाडेका थिए । रिजालले धरौटीबाहेक कुमारसँग ९० हजार तथा इन्द्र र उदिमसँग ३५ हजार रुपैयाँ लिएको दुवै पक्षले दाबी गरेका छन् ।
प्रजिअले कुमारलाई १० हजार धरौटी र पाख्रिनका बाबुछोरालाई सात/सात हजार धरौटीमा छाडेका थिए । लामाकी श्रीमती रेनुले आफ्नै हातले ९० हजार दिएको आरोप लगाएकी छन् । उक्त कार्य प्रजिअले गोप्य कोठामा गरेको पनि उनले बताइन् । ‘घटना बहिर ल्याउने बताएपछि क्वार्टरमा लगेर सीडीओसापले पत्रिकामा बेरेर ९० हजार फर्काउनुभयो,’ रेनुले दाबी गरेकी छन् ।
आफूहरूको पीडा सम्बोधन नहुँदै प्रमुख जिल्ला अधिकारी रिजाल अर्को घूसकाण्डमा मुछिएको थाहा पाएपछि बिगु–१ का सचिव यादवले पनि शुक्रबार उपाध्यक्ष ओलीसँग गृह मन्त्रालय पुगेर असोज १६ मै तयार पारिएको उजुरी दर्ता गराएका छन् । रिजालमाथि कारबाही होला र आफूले बिनाकारण बुझाएको पैसा फिर्ता होला भन्ने झिनो आशा रहेको उनले बताए ।

Page 3
समाचार

न्यायपरिषद्बाट सोझै अदालत !

न्यायाधीश नियुक्तिको सिफारिस गर्ने, न्यायाधीशको कामकारबाही अनुगमन गर्ने निकायमा बसिसकेको व्यक्तिले आफ्नै लागि अनुकूल वातावरण बनाई सर्वोच्च अदालतमा नियुक्तिपत्र लिन हुने कि नहुने भन्ने प्रश्न ब्युँतिएको छ ।
- कृष्ण ज्ञवाली

(काठमाडौं) - आफैं बसेर आफ्नो सिफारिस गर्न लाग्यो भनेर विरोध हुन थालेपछि सजिलो बनाइदिएको हुँ । आजै राजीनामा दिने, आजै सिफारिस गर्ने भन्ने ढंगको कुरा उठ्यो रे । अर्को पटक टुंगो लाग्ला ।’ न्यायपरिषद् सदस्यबाट राजीनामा दिएलगत्तै बिहीबार कान्तिपुरसँग यस्तो प्रतिक्रिया दिएका पदम वैदिक अर्को बैठकले आफ्नो नाम सिफारिस गर्ने र आफू सर्वोच्च अदालत जान पाउनेमा ढुक्क छन् । तर यसले न्यायाधीश नियुक्तिको सिफारिस गर्ने, न्यायाधीशको कामकारबाही अनुगमन गर्ने ‘नियमनकारी निकाय’ मा बसिसकेको व्यक्तिले आफ्नै लागि अनुकूल वातावरण बनाई सर्वोच्च अदालतमा नियुक्तिपत्र लिन हुने कि नहुने भन्ने प्रश्न ब्युँताइदिएको छ । नेपाल बार एसोसिएसनले पनि यो विषयमा चासो जनाइसकेको छ ।
‘जो मान्छे जुन पदमा गएको हो, ऊ त्यो पदमा इमानदारपूर्वक काम गर्दैन र अन्यत्र भौंतारिन हतारिन्छ भने हाम्रा संस्थाहरू त्यस्ता पात्रको भर्‍याङका सिँढी मात्रै बनिदिँदा रहेछन्,’ वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले कान्तिपुरसित भने, ‘न्यायाधीश नियुक्ति गर्ने ठाउँमा बसेका मान्छे आफैं न्यायाधीश नियुक्त हुन राजीनामा दिन्छन् र त्यसलाई प्रधानन्यायाधीशसहितको न्यायपरिषद्ले सिफारिस गर्छ भने न्यायपालिकाको हालत के होला ?’
बारका पूर्वअध्यक्षसमेत रहेका अधिवक्ता अर्यालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको उदाहरण दिए । नेपाल बार एसोसिएसनमा ३ वर्षका लागि अध्यक्ष निर्वाचित उनी बीचैमा राजीनामा दिएर महान्यायाधिवक्ता नियुक्त भएका थिए । महान्यायाधिवक्ता भएकै बेला उनी प्रधानन्यायाधीशको रोलक्रममा पर्ने गरी सर्वोच्चको न्यायाधीशमा सिफारिस भए । उनको सिफारिसका बेला न्यायपरिषद्का दुई सदस्य नियुक्त भएका थिएनन् । हालका महान्यायाधिवक्ता अग्नि खरेल कानुनमन्त्री भएका बेला कार्कीसहित तत्कालीन एमालेबाट सभासद बनिसकेकी सपना प्रधान मल्लको सिफारिसमाथि पनि प्रश्न उठेको थियो ।


न्यायपालिकाको उच्चतम संस्था सर्वोच्च अदालतमा कांग्रेस र एमाले निकट भनेर चिनिएर सिफारिस भएका न्यायाधीश छन् र तत्कालीन माओवादी निकटका रूपमा सिफारिस भएकाहरू कोही छैनन् । त्यसैले नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफू निकटका कानुन व्यवसायी वैदिकलाई सिफारिस गराउन खोजेको देखिन्छ । उनले यसअघि पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठलाई सर्वोच्च जान आग्रह गरेका थिए । प्रधानन्यायाधीशको रोलक्रममा नहुने भएकाले उनले आग्रह अस्वीकार गरेको स्रोतले जनाएको छ । वैदिकसँगै यसअघि सभामुखका कानुनी सल्लाहकार भएका दीनमणि पोखरेलको चर्चामा थियो । यसअघि सदस्य भएकै बखत उपेन्द्रकेशरी न्यौपानेलाई सर्वोच्च अदालतमा लैजाने प्रयास चौतर्फी विरोधका कारण असफल भएको थियो । वैदिकको राजीनामासँगै अर्को सदस्य नियुक्तिको खेल सुरु हुने भन्दै अर्यालले यस्तै खेलको चक्रले न्यायपालिकाको गरिमामा प्रहार भइरहेको बताए ।
यसरी भित्रियो राजनीति
जनआन्दोलनपछि ०६३ सालको अन्तरिम संविधानमा न्यायपरिषद्को संरचना परिवर्तन भयो । न्यायाधीशहरूको बहुमत हुने परिषद्मा त्यसबाहेकका पदाधिकारीहरूको संख्या बढी हुने बनाइयो । ०४७ सालको संविधानअनुसार, प्रधानन्यायाधीशले नेतृत्व गर्ने न्यायपरिषद्मा सर्वोच्च अदालतका दुई वरिष्ठतम् न्यायाधीश, कानुनमन्त्री र एक कानुनविज्ञ सदस्य हुन्थे । अन्तरिम संविधानमा प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका अर्का वरिष्ठतम् न्यायाधीश मात्रै सदस्य हुने भए । न्यायपरिषद्मा कानुनमन्त्री अनि बार र प्रधानमन्त्रीले सिफारिस गरेका दुई सदस्य पनि राजनीतिक पृष्ठभूमिका हुन्छन् ।
न्यायपरिषद्का ५ पदाधिकारीमध्ये ३ सदस्य राजनीतिक पृष्ठभूमिका भएपछि बाँकीमा पनि राजनीतिक प्रभाव बढ्दै गएको वरिष्ठ अधिवक्ता शंकरकुमार श्रेष्ठले बताए । ‘जस्तो बीउ रोप्यो, उस्तै फल्ने त हो,’ श्रेष्ठले भने, ‘राजनीति गर्ने मान्छेले राजनीतिक कार्यकर्ता पठाएपछि उसले राजनीति नगरे अरू के गर्छ ?’ श्रेष्ठका अनुसार राजनीतिक हस्तक्षेपका कारण नियुक्ति पाएकाहरूले नै एकातिर न्यायपरिषद्को नेतृत्व गर्ने अवस्था बनेको छ भने सर्वोच्च अदालतकै वरिष्ठतम् न्यायाधीश पनि अनेक ‘दबाब र प्रलोभन’ का कारण कत्तिको निष्पक्ष भइरहन्छ भन्ने सवाल पनि उठ्छ । पछिल्लो उदाहरण, वैदिकका नाममा असहमति राखेका दीपक कार्कीलाई समेत अन्तिममा केही समय ‘प्रधानन्यायाधीश हुने अवसर दिने’ भनी सहमत गराउने प्रयास भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
न्यायपरिषद्को संरचना खल्बलिएका कारण राजनीतिको ‘धमिलो पानी’ न्यायालयभित्र प्रवेश गरिसकेका दृष्टान्तहरू छन् । यसबीचमा कानुनमा पारम्गत, परिपक्व भइसकेका व्यक्तिलाई न्यायपरिषद्को सदस्य बनाउने परिपाटी तोड्दै दलीय रूपमा सक्रिय अनि पार्टी निकटलाई सिफारिस गर्ने प्रचलन बढ्यो । तत्कालीन एमालेबाट खेमनारायण ढुंगाना र कांग्रेसबाट उपेन्द्रकेशरी न्यौपानेको नियुक्तिपछि खुलमखुला दलीय भागबन्डा हुँदै गयो । ढुंगानाको जोडबलमा नियुक्त भएका न्यायाधीशहरूले आभार प्रकट गर्न बल्खुस्थित तत्कालीन एमाले मुख्यालय पुगेर अध्यक्ष झलनाथ खनाललाई भेटेका थिए ।
न्यौपानेले विवादास्पद छवि भएका अनि कार्यसम्पादनमै ‘न्यायिक टिप्पणी’ उठेका न्यायाधीशहरूलाई धमाधम सर्वोच्च अदालत ल्याए । गोपाल पराजुली, दीपकराज जोशी लगायतहरू यसका उदाहरण हुन् । प्रकाश वस्ती, भरतराज उप्रेती र पवन ओझाजस्ता राम्रा छविका भनिएका न्यायाधीशहरू बिदा भए । यिनै विवादास्पद निर्णयका कारण कांग्रेसबाट कानुनमन्त्री भएका नरहरि आचार्यले समेत आफ्नो पुरानो शालीन छवि कायम
राख्न सकेनन् ।
ढुंगाना र न्यौपानेपछि न्यायपरिषद्मा रामप्रसाद सिटौला र पदम वैदिक सदस्य बने । बारको सिफारिसमा नियुक्त सिटौला कांग्रेसनिकट हुन् भने वैदिक तत्कालीन प्रधानमन्त्री दाहालको सिफारिसमा नियुक्त भएका हुन् । दुवैको कार्यकालमा ठूलो संख्यामा न्यायाधीश नियुक्ति भयो तर कुनै पनि विवादरहित भएन ।
सुशीला कार्की प्रधानन्यायाधीश भएका बेला उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिका क्रममा ठूलो विवाद भयो । यी सदस्यहरूसहित पर्दा पछाडि कांग्रेस नेता रमेश लेखक र तत्कालीन माओवादी नेता वर्षमान पुन सक्रिय रहेको भनी कार्कीले सार्वजनिक रूपमै प्रतिक्रिया दिएकी थिइन् । कानुन व्यवसायी पृष्ठभूमिबाट नियुक्त हुनेहरू यति कनिष्ठ भए कि, न्यायसेवाका कतिपय कर्मचारी न्यायाधीशमा जानसमेत संकोच मान्न थाले ।
ट्र्याक रेकर्ड राम्रो नभएका र उच्च अदालतकै तहमा रोकिएका केही न्यायाधीशलाई गोपाल पराजुलीले सर्वोच्च अदालतमा ताने । आफ्नै नातेदारलाई समेत न्यायाधीश बनाउन बाँकी राखेनन् । चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीश भइसकेपछि उच्च अदालतमा भएको नियुक्तिसमेत आशालाग्दो छैन । जिल्ला तहमा विवादास्पद आदेश र फैसला गरेका न्यायाधीशहरू उच्च अदालतमा तानिए । त्यो क्रम केही दिनअघिको जिल्ला न्यायाधीश नियुक्तिमा पनि जारी रहेको जानकार बताउँछन् ।
जबराले कानुन व्यवसायीहरूबाट सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा दलीय भागबन्डा लगाए । पुनरावेदन अदालतबाट सर्वोच्च अदालत आउने क्रममा ‘सक्रिय सहयोग गरेका’ मनोज शर्मालाई सर्वोच्च अदालतमै ल्याए । तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्माका भतिज मनोज त्यतिबेला प्रधानन्यायाधीशकै सचिवालयमा कार्यरत थिए । ‘न्यायपरिषद् राजनीतिक भागबन्डाको अखडा बन्यो । इजलासको अगाडि उभिनसमेत नसक्नेहरू यसको सिफारिसमा परेका छन् । नाताकुटुम्ब, विवादास्पद व्यक्तिहरू कोही बाँकी छैनन्,’ वरिष्ठ अधिवक्ता श्रेष्ठ भन्छन्, ‘स्वतन्त्र न्यायपालिकामाथि चौतर्फी हमला भयो । अब कुनै ठाउँबाट पनि प्रहार हुन बाँकी छैन ।’
८० जना न्यायाधीश नियुक्तिलगत्तै तत्कालीन कानुनमन्त्री अजयशंकर नायकले सार्वजनिक रूपमै ‘माओवादीले पनि सन्तोषजनक रूपमा ठाउँ पाएको’ प्रतिक्रिया दिएका थिए । ८० जना न्यायाधीश नियुक्तिको मुद्दालाई सुशीला कार्कीपछिका तीन प्रधानन्यायाधीशले लामो समय सर्वोच्च अदालतमा अल्झाएर मोलमोलाइको अस्त्र बनाए । पराजुलीले त आफू आएपछि सर्वोच्च अदालतकै ११ जना न्यायाधीश ‘बर्खास्त गर्ने’ योजनासमेत बुने ।
०७२ फागुन १८ गते सिफारिस भएका सर्वोच्च अदालतका ११ जना न्यायाधीशले नियुक्ति लिई काम गरेको करिब दुई वर्षपछि सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । तत्कालीन प्रधानन्यायाधीश पराजुलीको योजनामा अधिवक्ता गणेश पाण्डेले नियुक्ति त्रुटिपूर्ण भएको भनी सिफारिस र नियुक्तिको निर्णय बदरको मागदाबी गरेका थिए । पहिले नै न्यायनिरूपण भइसकेको विषयमा दोस्रो पटक परेको निवेदन सर्वोच्च अदालतले दर्ता गरिदियो । पछि न्यायाधीशहरूले आपत्ति जनाएपछि त्यो मुद्दा टुंगियो ।
न्यायपालिका प्रजातन्त्रकालको स्थापनासँगै राजनीतिक भागबन्डाको चपेटामा परेको हो । अद्वितीय न्यायाधीशको छवि बनाएका विश्वनाथ उपाध्यायले आफ्ना भाइहरू केदारनाथ र वैद्यनाथलाई न्यायाधीश बनाउँदा अर्का न्यायाधीश कृष्णजंग रायमाझीले राजीनामा दिएका थिए । ०४८ सालमा न्यायाधीश नियुक्तीका क्रममा गोपाल पराजुली, दीपकराज जोशी लगायतका राजनीतिक पृष्ठभूमिका कानुन व्यवसायीहरूसमेत न्यायपालिकामा प्रवेश गरे । न्यायपालिकामा एकपछि अर्को राजनीतिक नियुक्ति भइरहेको भन्दै कानुन व्यवसायीहरू वैदिकको नियुक्ति भए ‘न्यायपरिषद्बाट सोझै सर्वोच्च अदालत जाने’ नजिरसमेत स्थापना हुने जोखिम देख्छन् । वरिष्ठ अधिवक्ता अर्यालको शब्दमा ‘नियुक्ति गर्ने ठाउँमा बसेर नियुक्ति खान खोज्नु लाजमर्दो हो ।’
वरिष्ठ अधिवक्ता श्रेष्ठ न्यायपालिकामा राजनीतिक हस्तक्षेपको असर दशकौंसम्म कायम रहने बताउँछन् । ‘यसको असर पनि चक्रीय हुँदोरहेछ । २० वर्षअघि राजनीतिक नियुक्ति खाएकाले अहिले न्यायपालिकाको गरिमा जोगाएको देखियो र ?’ श्रेष्ठले भने, ‘अहिले नै १० वर्षपछि यो र ऊ प्रधानन्यायाधीश भनेर हिसाब गरिरहेका छन् । यो हस्तक्षेपको असर अर्को २० औं वर्षसम्म रहने खतरा छ ।’

Page 4
वाग्मती प्रदेश

साइकल लेन माग्दै र्‍याली

- कान्तिपुर संवाददाता

चितवन (कास)– साइकल चढ्ने बानीको विकास गर्न सक्रिय अभियानकर्मीले शुक्रबार नारायणगढमा र्‍याली निकाल्दै साइकल लेनको माग गरेका छन् । उनीहरूले भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकाका मेयरलाई ज्ञापनपत्रसमेत बुझाए ।
‘साइकल चलाउन इन्धन चाहिँदैन । शारीरिक बलमा चल्ने भएका कारण कसरत पनि हुन्छ,’ चितवन राइडर्स क्लबका अध्यक्ष नवीन खरेलले भने, ‘साइकल चलाउन चाहना भए पनि व्यस्त सडकमा ठूला गाडीबाट दुर्घटनाको खतरा रहन्छ, त्यसैले साइकल लेन मागेका हौं ।’ साइकल लेन बने साइकल चलाउनेको संख्या बढ्ने साइकल व्यवसायी संघ चितवन–नवलपुरका अध्यक्ष श्यामप्रसाद खरेल बताउँछन् । ‘साइकल लेन समृद्ध र स्मार्ट सहरको सूचक पनि हो,’ अध्यक्ष खरेलले भने ।
साइकल व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष धर्मराज सापकोटाका अनुसार चितवनमा ०१५ सालबाटै साइकल बिक्री पसल खुलेको हो । समथर क्षेत्र भएका कारण साइकल चलाउन यहाँ सहज छ । ‘चितवनमा दिनमै पाँच सय साइकल बिक्री हुन्थे । ५० को दशकसम्म साइकलको प्रयोग अत्यधिक रह्यो,’ उनले भने, ‘६० को दशकपछि भने साइकल व्यापार ओरालो लाग्यो ।’
चितवन उद्योग वाणिज्य संघ, साइकल व्यवसायी संघ चितवन–नवलपुर र चितवन साइकल राइडर्स क्लबले संयुक्त रूपमा पालिकामा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै भरतपुर महानगरकी मेयर रेनु दाहालले महानगरको नीतिमै साइकल लेनबारे उल्लेख भएको जानकारी गराइन् । ‘लेन निर्माणका लागि यो वर्ष २२ लाख रुपैयाँ बजेट नै व्यवस्था गरेका छौं,’ उनले भनिन्, ‘महानगरले छात्राहरूलाई तीन सय साइकल वितरण गर्ने योजनासमेत बनाएको छ ।’ नारायणगढ बजार घुमेर भरतपुर आएका साइकल प्रयोगकर्ताहरू ज्ञापनपत्र बुझाएपछि गैंडाकोट गएका थिए । गैंडाकोट नगरपालिकाका पनि उनीहरूले मेयर छत्रराज पौडेललाई ज्ञापनपत्र बुझाएर साइकल लेन निर्माणको माग गरे ।

वाग्मती प्रदेश

कैदीबन्दीलाई टेलिफोन सुविधा

- कान्तिपुर संवाददाता

 

हेटौंडा (कास)– क्षेत्रीय कारागार भीमफेदीका कैदीबन्दीलाई आफन्त र वकिललाई सहज रूपमा टेलिफोनमार्फर्त् सम्पर्क गर्न पाउने व्यवस्था गरिएको छ । दुईवटा ब्लक छुट्याइएको कारागारमा जीएसएम सिस्टमअन्तर्गतका नौवटा टेलिफोन सेट राखिएको जेलर प्रकाश खनालले बताए । ‘क’ ब्लकमा पाँच र ‘ख’ मा चारवटा सेट छन् ।
कैदीबन्दीले आफन्त र वकिललाई दैनिक बढीमा १० मिनेटसम्म टेलिफोन गर्न पाउने व्यवस्था मिलाइएको छ । कारागारले प्रतिमिनेट साढे दुई रुपैयाँ शुल्क तोकेको छ । टेलिफोन बुथमा एकजना सुरक्षाकर्मी खटिएका छन् भने टेलिफोन ट्यापिङको व्यवस्था पनि मिलाइएको छ । जेलभित्रवाट आपराधिक क्रियाकलाप गर्न लगाउन सक्ने भएकाले शंकास्पद कैदीबन्दीको फोन ट्याप गर्ने गरिएको जेल प्रशासन जनाएको छ । टेलिफोन गर्न कम्तीमा आधा घन्टा लाइनमा बस्नुपर्छ ।
‘दुई सयजति भारतीय नागरिक पनि रहेकाले टेलिफोनमार्फत् उनीहरूले आफ्ना परिवारसँग कुरा गर्न पाऊन् भनेर सुविधा दिएका हौं,’ जेलर खनालले भने ।
यसैगरी, कारागारको जेल प्रशासनले कैदीबन्दीाई लगाउने एकजोर कपडाको सट्टा नगद रकम नै दिने भएको छ । यसअघि ६/६ महिनामा कैदीबन्दीले एकएक जोर कपडा पाउँथे । जाडो मौसममा लगाउने कपडाको निम्ति प्रतिकैदीबन्दी एक हजार सात सय रुपैयाँ दिने निर्णय भएको जेलर खनालले बताए ।
क्षेत्रीय कारागार भीमफेदीमा एक हजार ११ जना कैदीबन्दी छन् । यहाँ पुरुषमात्र छन् । महिला कैदीबन्दी राख्नका लागि अर्को भवन निर्माणाधीन अवस्थामा छ । प्रदेश ३ को सरकारले उक्त जेलभित्र उद्योग सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ । जेलभित्र उद्योग दर्ता नगरीकन बाँसका मुढा बनाउने, गलैंचा र टोपी बुन्ने काम भइरहेको छ ।

वाग्मती प्रदेश

सुस्त तयारी, चिन्तित व्यवसायी

भ्रमण वर्ष
- अनिश तिवारी
पर्यटन मन्त्रालयले एक सय गन्तव्य सूचीमा राखेको सिन्धुपाल्चोकको पाँचपोखरी । ॅनेपाल भ्रमण वर्ष २०२०’ सुरु हुनै लाग्दा जिल्लामा छानिएका तीन गन्तव्य पुनर्निर्माण र प्रवर्द्धन अभावमा व्यवस्थित बन्न सकेका छैनन् । तस्बिर ः अनिश/कान्तिपुर

(सिन्धुपाल्चोक) - नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक महिनामात्रै बाँकी रहँदा सिन्धुपाल्चोकमा छानिएका तीन गन्तव्य पुनर्निर्माण र प्रवर्द्धन अभावमा अझै व्यवस्थित बन्न सकेका छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘सय गन्तव्य सूची’ मा भोटेकोसी/सुनकोसीको र्‍याफ्टिङ, बन्जी जम्पका साथै हेलम्बु र पाँचपोखरी परेका छन् । तर, यहाँ पुनर्निर्र्माण र भौतिक पूर्वाधारको प्रारम्भिक तयारी पनि भएको छैन । प्रदेश र स्थानीय सरकारबाट केही संरचना निर्माण भइरहे पनि पर्यटकको मुख्य आकर्षण क्षेत्र प्राथमिकतामा परेको देखिन्न । जिल्लाको हिमाली क्षेत्र हेलम्बु, पाँचपोखरी हुँदै भोटेकोसी र सुनकोसी नदीमा पर्यटकीय तयारीको लागि पहल नहुँदा पर्यटन व्यवसायी चिन्तित देखिन्छन् ।
तातोपानीको चिन्ता
चीन जोड्ने प्रमुख नाका तातोपानी ब्युँतिन लामो समय लाग्यो । भूकम्प, भोटेकोसी बाढी र बर्खे पहिरोपछि खण्डहर बनेका यहाँका पर्यटकीयस्थल अझै पुरानो अवस्थामा फर्किन सकेका छैनन् । बर्सेनि ठूलो संख्यामा तातोपानीमा नुहाउन आउने आन्तरिक पर्यटकको संख्या अहिले निकै गिरावट आएको छ ।
तातोपानी–६ दुगुनामा रहेको ऐतिहासिक स्थल दुगुनागढी पुनर्निर्माण गरेर पुरानै स्वरूपमा ठड्याइए पनि पर्यटक पुर्‍याउने गरी तयारी गरिएको छैन । तातोपानी नाका बन्द भएपछि सो बाटो भएर भारतलगायत मुलुकका तीर्थयात्रीले चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर भ्रमण गर्न पाएका छैनन् । दुगुनागढी हुँदै ४२ सय मिटर उचाइमा रहेको भैरवकुण्डसम्म जाने पर्यटकीय पदमार्ग बनाइए पनि दुगुनागढीमा पहिलेजस्तो होमस्टे नहुँदा समस्या छ ।
पहिले होमस्टे रहेका दुगुनागढीमाथिका यार्मासिंह, खाम्गेक विक टोल, भूमाचौर पाटीकुना, भेकासिंह, थांमाछे र ढिसिङ टोलका एक सय ४५ घर पुनर्निर्माण भइरहेका छन् । भूकम्पअघि पश्चिमा मुलुकका दुई हजारभन्दा बढी पर्यटक वार्षिक दुगुनागढी र भैरवकुण्ड आउँथे । तातोपानीको बाटो भई वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । जसमध्ये ४० हजारभन्दा बढी त चीनकै हुन्थे ।
धर्मराउँदो एड्भेन्चर पर्यटन
उत्खनन् र प्रदूषणले नदी बगरझैं बनेपछि भूकम्पपछि सन्तुलनमा आएको बन्जी र र्‍याफ्टिङको पर्यटनमा उत्साह छैन । ‘जल पर्यटनलाई अरू चुनौती छैन् तर जथाभावी दोहन र नदी प्रदूषण नियन्त्रण नगरिँदा भविष्य धर्मराउँदो छ,’ सुकुटे बिच एड्भेन्चर रिसोर्टका महेन्द्रसिंह थापा भन्छन्, ‘जलविद्युत् आयोजना सम्पन्न भएपछि नदी सुक्ने डरले एडभेन्चर पर्यटन मुस्किलमा अडिरहेको भान हुन्छ ।’
भूकम्पअघि करिब तीन लाख पर्यटक जलपर्यटनका लागि सिन्धुपाल्चोक भित्रिएका थिए । दैनिक ९० भन्दा बढी आन्तरिक र बाह्य पर्यटक र्‍याफ्टिङ र क्यानोनिङकै लागि आउने गरेका छन् ।
०५६ सालमा पहिलोपटक न्युजिल्यान्डका डेबिड र नेपाली विष्णुप्रसाद न्यौपानेले सञ्चालन गरेको बन्जी जम्प पर्यटकीय गन्तव्यका रूपमा प्रख्यात छ । दैनिक आउने ७० पर्यटकमा ४५ जना नेपाली बन्जीमा रमाउँछन् । सडक र पहिरो रोकथामलाई व्यवस्थित नबनाइँदा बन्जीसम्म आउने अवस्था जोखिमय बन्दै गएको छ । ठूला क्षमताका जलविद्युत् आयोजनापछि भोटेकोसीको बहाव घट्ने त्रासमा व्यवसायी छन् । ‘जलविद्युत गलत हो भन्न खोजेका होइनौं तर जलपर्यटनलाई बेवास्ता गरिएको छ,’ नेपाल र्‍याफ्टिङ एसोसिएसन (नारा) का अध्यक्ष गंगाप्रसाद नेपालले भने ।
ॅहल्ला मात्रै’
भूकम्पअघि वार्षिक ३६ हजार पर्यटक पदमार्गको आनन्द लिँदै हेलम्बुको बस्तीदेखि पाँचपोखरीका विभिन्न धार्मिकस्थल अवलोकन गर्थे । अहिले पूर्वाधार र धार्मिक मन्दिर तंग्रिने चरणमा दैनिक ४० पर्यटकमात्रै भित्रन्छन् । स्थानीय सरकारबाट केही प्राचीन गुम्बा, माने छ्योर्तेन र मन्दिर बनाउने प्रयास भए पनि सरकारबाट छुट्याइएको रकम नपाएपछि अधिकांश ध्वस्त अवस्थामा छन् । ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्चीघ्याङ, महादेव पाइला, आमायांग्री र पाँचपोखरी घुम्न आउने आन्तरिक पर्यटक नै निकै हुन्छन् । तिब्बती महायोगी मिलारेपा र प्राचीन गुम्बामा हुने महत्वपूर्ण पूजामा आउने पर्यटकको संख्या पनि उल्लेख्य छ । ‘तर, ती स्थानमा पर्यटक पुग्ने वातावरण अझै बन्न सकेको छैन,’ हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले भने ।
चीनको ग्रेटवालपछि विश्वकै दोस्रो ठूलो हिमालयन ग्रेटवाल बनाइरहेको हेलम्बु धार्मिक पर्यटनसँग जोडेर पर्यटकीय पदमार्ग र योजनामा जुटेको छ । ह्योल्मो भूमि हेलम्बुको शेर्माथान, मेलम्चीघ्याङ हुँदै पाँचपोखरीमा पर्यटकका लागि होटल, रिसोर्ट पूर्ण रूपमा व्यवस्थित र पर्याप्त छैनन् । ‘सडक सञ्जाल त जोडिएको छ,’ शेर्पाले भने, ‘अरू तयारी धेरै बाँकी छन् । पर्यटन वर्ष त हल्ला गरेजस्तो मात्रै बनेको छ ।’

वाग्मती प्रदेश

पुस २५ देखि रत्ननगर महोत्सव

- कान्तिपुर संवाददाता

चितवन (कास)– पूर्वी चितवनको रत्ननगर टिकौली चौरमा पुस २५ गतेदेखि माघ ७ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ । आयोजक समितिले बिहीबार सौराहामा आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले महोत्सवमा पाँच सय स्टलहरू रहने जानकारी दिए ।
‘उद्योग, व्यपार, कृषि, पर्यटन प्रवर्द्धन, स्थानीय कला संस्कृतिको प्रदर्शनी, स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको परिचय गराउने सामग्री रहनेछन्,’ अध्यक्ष रेग्मीले भने । महोत्सव पाँच लाखले अवलोकन गर्ने र ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा राखेको उनको भनाइ छ । ‘महोत्सवमा भारत, पाकिस्तान र बंगलादेशबाट पनि सहभागी हुनेछन्,’ उनले भने, ‘ती देशका उत्पादन र औजार उपकरण तथा प्रविधिका स्टल पनि रहनेछन् ।’ महोत्सवकै अवसरमा पहाडी क्षेत्रको उपरदाङगढी, सिराइचुली, चेपाङ पदमार्गको पर्यटकीय स्थलको समेत प्रवर्द्धन गरिने रेग्मीले बताए ।

वाग्मती प्रदेश

पशु प्राविधिकको अभाव

- कान्तिपुर संवाददाता

रामेछाप (कास)– मन्थली नगरपालिकामा पशु स्वास्थ्यमा काम गर्ने प्राविधिकको अभाव भएको छ । १४ वडा भएको नगरपालिकामा तीनजना मात्रै कर्मचारी छन् । नगरपालिकामा करिब तीन हजार गाईभैंसीमा कृत्रिम गर्भाधान हुने गरेको छ । पशु उपचार, शिविर, महामारी नियन्त्रण र पशु विकासका अन्य काममा थोरै कर्मचारीलाई भ्याईनभ्याई छ ।
जिल्ला पशुसेवा कार्यालय खारेज भएपछि पशु उपचार र विकासका कार्यक्रम प्रभावित भएको हो । भएका कर्मचारी स्थानीय तहमा समायोजन भएकाले स्थानीय सरकारलाई पशुपालन र विकासका कार्यक्रम सञ्चालन गर्न कठिनाइ परेको नगरपालिका पशु सेवा शाखाका प्रमुख मुकुन्द खड्काले बताए । सिन्धुलीमा रहेको पशु अस्पताल तथा ज्ञान केन्द्रले रामेछापको समेत कार्यक्षेत्र हेर्ने जिम्मेवारी पाएको छ । तर, उक्त केन्द्रले रामेछापमा कार्यक्रम सञ्चालन र जनशक्तिमा चासो दिएको छैन । खड्काका अनुसार नगरपालिकाले पशु उपचार र विकासका क्षेत्रमा चालू आर्थिक वर्षका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको छ । कर्मचारी नहुँदा उक्त कार्यक्रम लागू गर्नसमेत समस्या परेको छ । ‘हामीले स्थायी कर्मचारीको व्यवस्थापन नहुँदासम्म करारमा सेवा लिने गरी कर्मचारीको व्यवस्थापन गरिदिन नगरपालिकामा अनुरोध गरेका छौं,’ खड्काले भने ।
नगरपालिकाको अनुदानबाट उन्नत पशु वितरण, गोठ खोर सुधार, दूधमा अनुदान, स्थानीय जातलाई प्रवर्द्धन, औषधि खरिद र शिविरको आयोजना लगायतका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ । नगरपालिका पशु र कृषि शाखाको कामकारबाहीप्रति जनप्रतिनिधि समेत खुसी छैनन । कार्यक्रम हुँदा जानकारी नै नहुने वडा नम्बर ७ का अध्यक्ष सुदर्शन प्रसाईंले बताए ।

वाग्मती प्रदेश

बेसहारा दम्पतीका दुःख

- कान्तिपुर संवाददाता

 

सिन्धुपाल्चोक (कास)– साँघुरो टहरो । वरिपरि थोत्रो जस्तापाताको बेरा । यहीँभित्रको धुलाम्मे भुइँमा गुन्द्री र पुराना तन्नामाथि लडिरहेका छन्, बुद्धिबहादुर विश्वकर्मा । सकीनसकी उनकै रेखदेखमा व्यस्त छिन्, पत्नी सेतीमाया । चौतारा साँगाचोकगढी नगरपालिका–५, डाँडापारिस्थित बेसहारा वृद्ध दम्पतीको कन्तबिजोग देख्ने र उनीहरूको पीडा सुन्ने जोकोही पनि भावुक हुन्छन् ।
चौसाँगाढी नगर कदमबासका यी दम्पती सदरमुकाम चौतारा आउनुको बाध्यता र संघर्षको कथा निकै कारुणिक छ । ३६ वर्षको उमेरमा बुद्धिबहादुरको जाँघमा एउटा खटिरा आयो । त्यही सामान्य खटिराले उनलाई थलाएर कुँजो नै बनाइदियो । ‘त्यसपछि कहिल्यै सुखका दिन आएनन्, दुःखमाथि दैवले खेदेको खेदै गर्‍यो,’ आँखाभरि आँसु पार्दै उनले भने, ‘हामी कंगाल बेसहारा बन्यौं ।’
सदरमुकाममा बस्न र उपचारमा सहज हुन्छ भन्ने सोचेर तीन आना जमिन छाड्दै अरू सबै बेचेर दम्पती चौतारा आए । यहाँ आएर दुई आना जग्गा किनेर छाप्रो हालेर बस्न थाले । ‘गाउँको सबै जग्गा पनि सडकमा खनेर सकेछन् । आफ्नो जग्गा जोगाउन सीडीओ र प्रहरी प्रशासनमा रोएर गुहारेँ, कसैले सुनेनन्,’ उनले भने ।
चौतारामा रहेको दुई आना जग्गा पनि आफ्नै आन्द्राको उपचारमा सकाएको श्रीमती सेतीमाया बताउँछिन् । ‘एक्कासि बेहोस भएर ढलेँ, मेरो आन्द्रामा गाँठो परेछ,’ उनले भनिन्, ‘उपचारमा अरू बाटो नभएपछि चौताराको दुई आना जग्गा पनि धितो राखेर लाख रुपैयाँ निकाल्यौं ।’ ऋण तिर्न नसकेपछि जग्गा नै लिलाम भयो ।
अहिले उनीहरू मासिक चार सय भाडा तिरेर अरूको जग्गा र टहरामा आश्रय लिइरहेका छन् । ‘लोग्नेकै लागि भनेर प्लास्टिकको आन्द्राको भरमा बाँच्दै छु, शौचालय र लुगा धोएर उनलाई पालिरहेको छु,’ उनी भन्छिन् ।
०४० सालअघिको अवस्था सम्झँदा उनीहरूका आँखा रसाउँछन् । हिक्कहिक्क सुरु भइहाल्छ । त्यतिखेरका २६ वर्षे युवा बुद्धिबहादुर आरनमा हतियार बनाउँथे । बिहेपछि छोरी जन्मिएलगत्तै श्रीमती अन्तै हिँडिन् । समाजको दबाबपछि उनले सेतीमायासँग विवाह गरे । घाँस काट्न जाँदा एक दिन उनी भीरबाट लडिन् । पेटमा भएको बच्चा गुमे पनि उनी कसोकसो बाँचिन् । केही वर्षको अन्तरालमा छोरो त जन्माइन्, २४ घन्टापछि उसलाई बचाउन सकिएन । फेरि सेतीमाया कहिल्यै आमा बनिनन् ।
थोत्रो टहरामा काँपिरहेका वृद्ध दम्पतीलाई अहिले स्थानीय र क्लबले केही सहयोग पुर्‍याउने गरेका छन् । चौतारा साँगाचोकगढी
नगरका अमित घिमिरे जनप्रतिनिधिले उनीहरूलाई बेवास्ता गरेको बताउँछन् । ‘स्थानीय तहबाट सामान्य सहयोग त पुर्‍याउन सकिन्छ नि,’ उनले गुनासो गरे, ‘गाँसबासको व्यवस्था गर्न मुस्किल भइरहेको छ, जनप्रतिनिधिले किन देख्नुहुन्न ?’

Page 5
उपत्यका

खुला क्षेत्र मास्न गुठी नै अग्रसर

सांसद, जनप्रतिनिधि र चाबहिलवासीले दिएको निवेदनमा छलफल नै नगरी गुठीको झन्डै १० रोपनी जग्गा ठेक्का लगाइएको छ
- प्रशान्त माली
चाबहिल गणेशस्थानस्थित गुठी संस्थानको जग्गा । स्थानीय बासिन्दा, सांसदलगायतले विरोध गर्दा पनि संस्थानले यो खुला क्षेत्र ठेक्कामा लगाएको छ । तस्बिर ः प्रशान्त/कान्तिपुर

(काठमाडौं) - खुला क्षेत्र अतिक्रमण भइरहेको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान चलिरहेको छ । भूकम्पका बेला सुरक्षित स्थल बनेका खुला क्षेत्र जोगाउन नागरिक तहबाटै दबाबमूलक कार्यक्रम भइरहेका छन् । तर, गुठी संस्थान नै खुला क्षेत्र मास्न अग्रसर भएको पाइएको छ ।
गुठी संस्थानले चाबहिल गणेशस्थानस्थित जग्गा व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको छ । स्थानीय संसाद, जनप्रतिनिधि र चाबहिलवासीले जग्गा खुला राख्न दिएको निवेदनमाथि छलफल नै नगरी उक्त जग्गा पाँच वर्षका लागि भाडामा लगाइएको हो । संस्थानले काठमाडौं महानगरपालिका–७ कित्ता नम्बर ८८ र ८९ को ९ रोपनी १५ आना २ पैसा जग्गा मरिण ठाकुर इन्टरनेसनल कम्पनीलाई मासिक ८ लाख ५ हजार बुझाउने गरी ठेक्कामा लगाएको हो । उक्त जग्गा गोरखनाथ चक्रपूजा गुठीको नाममा छ । उक्त जग्गामा ठेकेदार कम्पनीले बिहीबारदेखि जस्तापाताको बार लगाएर काम सुरु गरिसकेको छ ।
नजिकै दुई अस्पताल र घनाबस्तीबीचमा रहेको जग्गा प्राकृतिक विपत्तिका बेला आश्रयस्थल बन्ने भन्दै स्थानीयले सांसदमार्फत ०७५ भदौ २२ मा नै भाडामा नलगाई खुल्ला क्षेत्र कायम गर्न माग गरेका थिए । तर, संस्थानले स्थानीयको निवेदनको बेवास्ता गर्दै ०७६ साउन २८ गते सार्वजनिक सूचना प्रकाशित गरी टेन्डर आह्वान गर्‍यो । त्यसपछि विरोधमा उत्रिएका स्थानीयले संस्थानको निर्णय तत्काल बदर गर्न माग गर्दै पुनः ०७६ भदौ ३० र असोज १७ गते क्षेत्र नम्बर ४ का सांसद गगन थापामार्फत अर्को निवेदन दर्ता गरे ।
‘हामी कुनै पनि हालतमा खुला ठाउँ मास्न दिँदैनौं । यो षड्यन्त्रविरुद्ध हाम्रो संर्घषबाट आउने परिणामको जवाफदेही संस्थान हुनेछ,’ स्थानीय गणेश धारा टोल सुधार समितिका अध्यक्ष विनोद दवाडीले भने, ‘जग्गा भाडामा नदिन सांसदमार्फत पटकपटक लिखित जानकारी गराउँदा पनि संस्थानले पेलेर जान खोज्यो । यो कुनै पनि हालतमा मान्य छैन ।’
स्थानीयका अनुसार उक्त जग्गामा पहिला मोटर ग्यारेज थियो । संस्थानले हटाउन नसकेको ग्यारेज जनप्रतिनिधि आइसकेपछि काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष, स्थानीय टोल सुधार समिति, चाबहिलवासीले प्रहरी प्रशासनको सहयोगमा खाली गराए । वडाध्यक्ष शुद्धकुमार डंगोलका अनुसार ग्यारेज हटाइसकेपछि ०७५ मा संस्थानले जग्गाबारे कुनै पनि निर्णय जनप्रतिनिधिको सहकार्यमा गर्ने प्रतिबद्धता जनाएको थियो । ‘तर, बीचमा कसैलाई जानकारी नगराई भाडामा लगाइयो,’ उनले भने, ‘अहिले चौतर्फी विरोध भएपछि पुनः संस्थानले सहयोग गर्न पत्राचार गरेको छ ।’ दाताको मर्म र भावनाविपरीत जग्गा भाडामा दिनु गलत भएको उनको भनाइ छ । ‘पुर्खाले जुन उद्देश्यले जग्गा जोगाएका थिए, त्यहीअनुसार संरक्षण र प्रयोग गरिनुपर्छ,’ उनले भने, ‘टेन्डर खोल्दा जनप्रतिनिधिको रोहवरमा खोल्नुपर्छ, यसमा पनि जानकारी गराइएन । संस्थानलाई मनपरी गर्ने छुट छैन ।’
गुठी संस्थान काठमाडौंका शाखा प्रमुख शैलेन्द्र पौडेलले भने गुठीको जग्गा भाडामा लगाउनु संस्थानको बाध्यता भएको बताए । ‘संस्थान चलाउन सरकारबाट कुनै बजेट छैन,’ उनले भने, ‘संस्थानको लालपुर्जा भएको जग्गा आवश्यक पर्दा जुनसुकै बेला पनि भाडामा लगाउन सकिन्छ ।’
ठेकेदार कम्पनीले भने स्थानीयको मागबमोजिम जग्गा खुला राख्ने/नराख्ने विषयमा आफ्नो सरोकार नै नभएको बताएको छ । कम्पनीका सञ्चालक माधव काफ्लेले टेन्डर आह्वान भएकाले नै आफूले ठेक्कामा लिएको तर्क गरे । ‘म एक सच्चा व्यवसायी हुँ । व्यवसाय गरेर खान भनी सरकारले टेन्डर आह्वान गर्छ भने मैले किन ठेक्का लिन नपाउने ?’ उनले प्रश्न गरे, ‘भाडामा लगाउन नहुने भए किन टेन्डर आह्वान गरियो ?’ संस्थानको नियमअनुसार २५ लाख रुपैयाँ धरौटी बुझाइसकेको उनको भनाइ छ । ‘सम्झौताअनुसार जग्गा खाली गरिदिने संस्थानको काम हो,’ उनले भने, ‘यदि खाली गर्न सकिँदैन भने क्षतिपूर्तिसहित रकम फिर्ता दिनुपर्‍यो ।’
यो जग्गामा मोहीयानी हक दाबी गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन छ । मुद्दाको टुंगो नलागी भाडामा लगाइनु संस्थानको गैरजिम्मेवारी भएको स्थानीय बताउँछन् । संस्थानका काठमाडौं शाखा प्रमुख पौडेलले भने सर्वोच्चले अन्तरिम आदेश नदिएकाले भाडामा लगाउन सकिने दाबी गरे ।
नगरमा सामान्य संरचना बनाउन पनि वडा कार्यालयबाट स्वीकृति लिनुपर्छ । ठेकेदारले वडा कार्यालयबाट कुनै स्वीकृति लिएका छैनन् । विद्युत, पानी र टेलिफोन जडान गर्न टोल सुधार समितिले सिफारिस गर्नुपर्छ । ‘तर, हामी कुनै पनि हालतमा सिफारिस दिँदैनौं,’ गणेश धारा टोल सुधार समितिका अध्यक्ष दवाडीले भने ।

उपत्यका

क्यान्सरको निःशुल्क परीक्षण

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बूढानीलकण्ठ नगरपालिकाले महिलामा हुने पाठेघर र स्तन क्यान्सर मुखको निःशुल्क परीक्षण गरिरहेको छ ।
मंसिर १८ गतेबाट सुरु भएको परीक्षणबाट शुक्रबारसम्म ६ सय ४८ महिलाले सेवा लिएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत कुमारप्रसाद दाहालले बताए । निःशुल्क परीक्षण गर्न नगरपालिकालाई प्रिभेन्ट क्यान्सर नेपाल संस्थाले सघाएको छ ।
शुक्रबार नगरपालिकाको महांकाल स्वास्थ्यचौकीबाट वडा ८ र ९ का तीन सय १२ महिलाको परीक्षण गराइयो । एक महिना समय लगाएर एक सय २१ जना स्वास्थ्य स्वयंसेविका खटाई नगरपालिकाले निःशुल्क परीक्षणबारे नगरपालिकाभरि महिलालाई जानकारी दिएको थियो । मंसिर महिनाभर नगरपालिकाले चुन्नीखेल स्वास्थ्यचौकी, कपन स्वास्थ्यचौकी, चपली स्वास्थ्यचौकी र खड्ग भद्रकाली स्वास्थ्य चौकीबाट निःशुल्क परीक्षण सेवा पाउने दाहालले बताए । ‘अहिलेसम्मको जाँचअनुसार अधिकांश महिलामा पाठेघरको संक्रमण बढी देखिएको छ,’ उनले भने, ‘केही महिलामा क्यान्सर हुन सक्ने आशंका पनि गरिएको छ ।’ परीक्षणबाट कुनै महिलामा क्यान्सर वा गम्भीर समस्या देखिए थप उपचारका लागि पनि नगरपालिकाले सहयोग गर्ने उनले बताए ।
महामारी फैलिहाले त्यसको व्यवस्थापनका लागि समेत नगरपालिकाको स्वास्थ्य शाखा तयारी अवस्थामा छ । समुदायमा हैजा, इन्फ्लुएन्जालगायत केही महामारी फैलिए अब नगरपालिकाले केन्द्रीय सरकारको मुख नताक्ने अधिकृत कुमारप्रसाद दाहालले बताए । महामारी नियन्त्रण गर्न शाखाले चिकित्सक सहितको र्‍यापिड रेस्पोन्स टिम तयार राखेको छ । टिममा, अहेब, नर्स, अनमी, ल्याब असिस्टेन्ट छानिएका छन् ।

उपत्यका

लगानी रोक्ने एडीबीको चेतावनी

- कान्तिपुर संवाददाता

(काठमाडौं) - एसियाली विकास बैंक (एडीबी) ले आफूले सहयोग गरेका परियोजनाको काम अघि नबढेको भन्दै थप लगानी नगर्ने चेतावनी दिएको छ । परियोजनामा अलपत्र काम पुनः सञ्चालन हुन नसकेकोमा सरकारसँग असन्तुष्टि जनाउँदै उसले चेतावनी दिएको हो । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत याङ्ग्री र लार्केको सुरुङ निर्माण, राजधानीमा पाइप बिछ्याउने काम र दोस्रो चरणको वाग्मती ब्युटिफिकेसन परियोजनामा ढिलाइ भएकोमा एडीबीको असन्तुष्टि छ ।
खानेपानी आयोजनाको पहिलो चरणको सुरुङ र हेडवर्क्सको काम सकिएपछि मात्र राजधानीमा थप पानी ल्याउने नयाँ परियोजना याङ्ग्री र लार्केका लागि सहयोग गर्ने पत्र पठाएको खानेपानी तथा सरसफाइ मन्त्रालयका एक उच्च अधिकारीले बताए । विस्तृत अध्ययन सम्पन्न भएर सुरुङ निर्माणको चरणमा पुगेका याङ्ग्री र लार्केमा स्थानीयसँग मुआब्जा वितरणलगायतमा सहमति नहुँदा काम प्रभावित भइरहेको छ । ‘स्थानीयको अवरोधले काम अघि नबढेपछि एडीबीले थप लगानी नगर्ने चेतावनी दिएको हो,’ ती अधिकारीले भने । उनका अनुसार मेलम्चीको सुरुङ र हेडवर्क्सको काम सुरु भए पनि गोकर्ण–सिनामंगल खण्डको वाग्मती ब्युटिफिकेसनको काम नौ महिनादेखि ठप्प छ । वाग्मती ब्युटिफिकेसनको सिनामंगल–बल्खु खण्डमा लगानी नगर्ने चेतावनी यसअघि नै एडीबीले सहरी विकास मन्त्रालयलाई दिइसकेको छ ।
वाग्मतीको मुहानदेखि बल्खुसम्मको करिडोर निर्माण र दुवैतर्फ बगैंचा बनाउने परियोजनामा एडीबीले करिब १३ अर्ब रुपैयाँ सहयोग गरेको छ । बर्सातको पानी संकलनका लागि पोखरी र ढल निर्माण, प्रशोधन केन्द्र बनाउने योजना छ । ‘नौ महिनादेखि काम ठप्प छ, केही दिनभित्रै एडीबीको मिसन टोली परियोजनाको प्रगतिको हेर्न आउँदै छ,’ अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिका आयोजना प्रमुख लीला ढकालले भने, ‘समस्या नसुल्झिएपछि बाँकी काममा लगानी गर्न एडीबी इच्छुक छैन ।’ वाग्मती किनारमा ब्युटिफिकेसन भइरहेको जग्गा आफ्नो भएको दाबी गर्दै स्थानीयले मुआब्जा मागेर आन्दोलन थालेपछि समस्या बल्झिएको हो । पहिलो चरणको काम नै अवरुद्ध भएपछि दोस्रो चरणको काममा लगानी नगर्ने मनस्थितिमा एडीबी रहेको ढकाल बताउँछन् ।
पुसको अन्तिम साता वाग्मती ब्युटिफिकेसनको पहिलो चरणको ठेक्का सम्झौता सकिँदै छ । ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सन कम्पनीले २६ महिनाभित्र सम्पन्न गर्ने सम्झौता गरेको थियो । मेलम्ची आयोजनाको सुरुङ र हेडकवर्क्सको काममा ढिलाइ भएपछि दोस्रो चरणको याङ्ग्री र लार्केको सुरुङ निर्माण अघि बढाउने काम अन्योलमा परेको छ ।
इटालियन परामर्शदाता कम्पनी इप्टिसाले सात महिनाअघि याङ्ग्री र लार्केको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) आयोजनालाई बुझाइसकेको छ । ‘डीपीआरबारे विभिन्न अन्तराष्ट्रिय विज्ञसँग छलफल गरेर तयारी अवस्थामा राखेका छौं,’ आयोजनाका एक अधिकारीले कान्तिपुरसँग भने, ‘तर लगानी गर्नेबारे एडीबीले सुनिश्चिता नजनाउँदा झन् अन्योल थपिएको छ ।’ आयोजनाले याङ्ग्री र लार्के क्षेत्रका जनतालाई मुआब्जा वितरण प्रक्रियासमेत अघि बढाइसके पनि लगानीको सुनिश्चिता नभएसम्म केही भन्न नसकिने उनले बताए । सरकारले दोस्रो चरणमा याङ्ग्री र लार्केबाट ३४ करोड लिटर पानी सुरुङमार्फत मेलम्चीमा मिसाएर सुन्दरीजलमा झार्ने योजना छ ।
मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किलोमिटर छ । मेलम्चीको अम्बाथान (हेडवर्क्स) बाट दुई किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङ्ग्रीको मुहानसम्म दुई किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवर्क्स अम्बाथानमा ल्याएर मिसाइन्छ । मेलम्ची, याङ्ग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी अम्बाथानदेखि २६ किलोमिटर टाढाको सुन्दरीजलमा सुरुङबाट ल्याइने योजना छ ।
साढे ८ करोड लिटर पानी प्रशोधन गर्न सक्ने केन्द्रको निर्माण सम्पन्न भइसकेको र अर्को प्रशोधन केन्द्र पनि निर्माण भइरहेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि १२ करोड लिटरमात्र आपूर्ति हुँदै आएको छ । बर्खामा भने उपत्यकामा १७ करोड लिटर पानी आपूर्ति हुन्छ ।

उपत्यका

भिखारी व्यवस्थापन गर्न अभियान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौं महानगरपालिकाले ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा अभियानलाई प्रभावकारी बनाउने भएको छ । यसका लागि मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा १५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । २५औं महानगर दिवसको अवसरमा आउँदो मंसिर २९ गते अभियानको घोषणा गरिने मेयर शाक्यले बताए । अभियानलाई प्रभावकारी बनाउन नौ सदस्यीय कार्यान्वयन उपसमिति र परिचालनका लागि ६ सदस्यीय समिति पनि गठन भएको छ ।
‘महानगर क्षेत्रभित्र भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन् भन्ने मूल नारासहित मानव सेवा आश्रमको सहयोगमा अभियान घोषणा गर्न लागेका हौं,’ उनले भने, ‘सडकमा रहेका बेवारिसे, मनोरोगी तथा असहायको उद्धार गरी पालनपोषण, औषधोपचारपश्चात् घर पहिचान भएकालाई पुनर्मिलन गराउने कार्यमा जुटिरहेका छौं ।’ पहिलो चरणमा सडकमा रहेका व्यक्तिलाई बालाजुस्थित ‘स्क्रिनिङ सेन्टर’ मा लैजाने र त्यहाँ खाने–बस्ने व्यवस्था मिलाई सामान्य उपचारसहित मनोपरामर्शसम्म दिइने उनले जानकारी गराए । ‘भोक मेट्नकै लागि सडकमा बस्नुपर्ने बाध्यता भएकालाई खुवाउने र घर हुनेलाई औषधोपचार गरी पारिवारिक मेलमिलापको वातावरण मिलाउनेसम्मका काम गर्न महानगर तयार छ,’ मेयर शाक्यले भने । मानव सेवा आश्रमलाई महानगरले विभिन्न सहयोग गर्दै आएको छ । आश्रित व्यक्ति बसेका बूढानीलकण्ठ र सामखुसीका दुई भवनको भाडासमेत महानगरले तिर्दै आएको छ । आश्रमलाई गाडी खरिदका लागि १६ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । भवन निर्माणमा समेत तीन करोड सहयोग गर्ने भएको छ । आश्रमले अहिलेसम्म करिब दुई हजार जनाको उद्धार र ६ सय जनालाई परिवारमा मिलन गराएको जनाएको छ । अहिले करिब आठ सय सहयोगापेक्षी आश्रमको संरक्षणमा छन् ।

 

उपत्यका

साइकल लेनको काम अघि बढेन

- कान्तिपुर संवाददाता

ललितपुर (कास)– ललितपुर महानगरपालिकाले बिहीबारदेखि साइकल लेन बनाउने काम सुरु गर्‍यो । शनिबार औपचारिक रूपमा मेयर चिरीबाबु महर्जन, उपमयेर गीता सत्याललगायत साइकल अभियन्ताले सडकमा रङ पोतेर लेन निर्माणको शुभारम्भ गरे । साइकल अभियन्तासँगै वातावरणविद्हरूले पनि राम्रो कामको सुरुवात भन्दै तारिफ जनाए । तर, बिहीबारदेखि सुरु भएको काम शुक्रबारसम्म कुपन्डोल कानदेवता चोकसम्म पनि पुगेको छैन । खोलापट्टि कुपन्डोल पुलदेखि मेदान्त अस्पतालसम्म र अर्को खण्ड कुपन्डोल पुलदेखि होटल हिमालय अगाडिसम्म मात्रै रङ पोतिएको छ ।
रङ पोत्ने कामदारको अभाव हुँदा काम रोकिएको रमित कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर विनोद सिलवालले बताए । १५ दिनमा काम सकिने उनले बताए । उक्त लेनमा ३० मिटरको दूरीमा साइकलको चित्र बनाइनेछ । हाल कुपन्डोल पुलदेखि होटल हिमालयसम्म सातवटा चित्र बनाइएको छ । ललितपुर महानगरपालिकाले कुपन्डोल हुँदै लगनखेलदेखि मंगलबजार–पुल्चोकसम्म साइकल लेन निर्माण गर्दै छ ।
साइकल लेन भनेर छुट्याइए पनि ती लेनमा अन्य सवारीसाधन पनि बेपरवाह कुदिरहेका छन् । महानगरपालिकाले साइकल स्ट्यान्ड निर्माण गरेर लेन बनाउन सुरु गरेपछि धेरैजसो साइकलमै निस्कन थालेका छन् । तर, निर्माण भएको लेनमा समेत साइकलयात्रीलाई अरू सवारीले बाटो छोडेको पाइएन । ‘साइकल नहुँदा उक्त लेन अन्य सवारीसाधनले प्रयोग गर्न त मिल्छ,’ नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले भने, ‘साइकल हुँदा भने लेनमा अन्य सवारीसाधन चलाउन पाइँदैन ।’

उपत्यका

पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाही माग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ ।
शाखाका केन्द्रीय पार्षद् तथा पूर्व कार्यसमिति सदस्य सन्तोष बराइलीलाई समाचार संकलन क्रममा नेपाल–भारत सीमास्थित जनकपुरधाम–जटही छोटी भन्सारका कर्मचारीले बुधबार दुर्व्यवहार गरेका थिए । सेवाग्राहीसँग अनधिकृत रूपमा पैसा असुली गरिरहेको दृश्य देखेपछि बराइली र नेपाल समाचारपत्र दैनिकका सिरहा संवाददाता शुभेन्दर दासले तस्बिर लिन लाग्दा दुर्व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ ।
शाखाका अध्यक्ष शान्तराम बिडारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भन्सारका कार्यालय सहयोगी रामबहादुर कापरले सेवाग्राहीसँग घुस लिँदै गरेको फोटो लिँदा भन्सारका इन्चार्ज नायव सुब्बा नवीनकुमार पाण्डे आएर क्यामेरा खोसेको र दुर्व्यवहार गरेको बताइएको छ ।

Page 6
विविधा

चीनको ताओ

- रमेश के.सी.

 

ता ओ भनेको बाटो, मार्ग वा प्रवाह हो । प्रकृति र ब्राह्माण्डको प्रवाहमा समाहित भएर सहज, सरल र सूक्ष्म बोधको जीवन र समाज चलाउन यसले सिकाउँछ, यही ज्ञान भएको धर्मलाई ताओ भनिन्छ । पश्चिमाहरूले डाओसमेत भन्ने यो चीनको प्रमुख धर्म हो । २५ सय वर्ष अगाडि लाओ त्सु भन्ने सन्तले आविष्कार गरेको यो धर्मको प्रमुख ग्रन्थ ताओ ते चिङ हो । ८१ भागहरू भएको कवितात्मक यस पुस्तकलाई मैले तीस वर्षदेखि पढिरहेको छु । अत्यन्त सरल लाग्ने तर गहन अर्थ भएको यो पुस्तक वास्तवमा आध्यात्मिक शिक्षाहरू भएको चिनियाँ देवत्वको पुस्तक हो । भारत र नेपालमा जति हिन्दुहरूले आफ्नो पवित्र धर्मग्रन्थको रूपमा गीतालाई सम्मान गर्छन्, यति नै चिनियाँहरू यस ग्रन्थको सम्मान गर्छन् । चीनको प्रमुख धर्मग्रन्थको रूपमा यसप्रतिको चासो आज चीन उदयसँगै विश्वभर बढेको छ । चीनको धार्मिक पक्षलाई यसले बुझ्न मद्दत गर्छ । चीनका अन्य धर्म कन्फुसियाली र बौद्ध धर्म हुन् । कन्फुसियाली र ताओ धर्म चीनमा एकअर्काका पूरकजस्तै छन् । कन्फुसियाली धर्मले मान्छेको सम्बन्ध मान्छेसँग निर्धारण गर्छ भने ताओले मान्छेको सम्बन्ध प्रकृतिसँग तय गर्छ । चीनमा कथन नै छ कि प्रत्येक चिनियाँले कन्फुसियाली टोपी, ताओ वस्त्र र बौद्ध चप्पल लगाएको हुन्छ । भारतको ध्यान चीनमा पुगेपछि जेन बौद्ध धर्म बन्यो । स्थानीय परिवेशमा घुलमिल हुँदै यसले असाधारण मौलिक रूप धारण गर्‍यो भने कन्फुसियाली र ताओसँग मिलेर बस्यो ।
ताओले कसरी मानिस र प्रकृति सञ्चालित हुन्छन् बताउँछ र
ब्राह्माण्डमा रहेकाहरूको मार्ग तय गर्न सिकाउँछ । यसलाई धारणा र बुद्धिभन्दा आत्मतत्त्वद्वारा बुझ्न सकिन्छ । यसलाई बुझ्नका लागि भाषाको सीमितता छ, शब्दहरूको सीमितता छ । संसारमा रहेका कुरा जन्म लिन्छन् र परिवर्तित हुन्छन् भन्ने पाठ यसले दिन्छ । मानिसले नैसर्गिक नियमलाई पालना गर्दै प्रकृतिलाई अक्षुण्ण राख्नुपर्छ भन्दै प्राचीन जीवनको वकालत गर्छ । प्रत्येक वस्तुको प्राकृतिक स्वभाव हुन्छ ।
ताओ ते चिङको पूर्ण अर्थ के हो भने ताओ भनेको प्रवाह हो, ते त्यही प्रवाहमा बाँचेको जीवन हो, जुन नैतिक र सदाचारले भरिएको हुन्छ । चिङ भनेको सम्मानित ग्रन्थ हो । ६ वा ४ शताब्दीमा एउटा पहाडमा लेखेको यस ग्रन्थका शिक्षाहरूले पछि चिनियाँ समाजमा व्यापक प्रभाव पार्‍यो । लाओ त्सु सन्त घोषित गरिए र पछि उनका अनुयायीहरू देखापरे । चाङ यु, विन वेने र येआङ जीले पछिबाट यस धर्मको विस्तार गरे । यसलाई १९ औं शताब्दीमा जर्मनी इसाई धर्म प्रचारक रिचर्ड बेलहिल्मले जर्मन भाषामा अनुवाद गरेका थिए । जसको पछिबाट अंग्रेजीमा अनुवाद भयो । यो अनुवादलाई प्रामाणिक अनुवाद मानिएको छ । संसारमा बाइबलपछि एकदम धेरै संख्यामा अनुवाद गरिएको यो पुस्तक धर्म र ध्यानका लागिमात्रै होइन कि व्यवस्थापन गुरु, ‘सेल्फ सेल्फ’ र ‘न्युएज’ आध्यात्मिक खोजकर्ताहरूका लागि निर्देशिका नै बनेको छ । सन् ७० को दशकमा हार्वर्डका मनोविज्ञानका प्राध्यापक तिमेथी लेरीले यसलाई एलएसडीको प्रयोगका लागि अनुसन्धान गर्ने प्रमुख गाइड बनाएका थिए । यसर्थ ताओले चिङ विश्व साहित्यको प्रमुख ग्रन्थ हो । यसको प्रभाव चिनियाँ साहित्य, चित्रकला र फेसनमा समेत छ ।
‘सबै कुरा आफ्नो मूलरूपमा आउँछन्, धेरै टाढा जानु भनेको फर्कनु हो’ जस्ता विरोधाभाषी भनाइ बोक्ने यस ग्रन्थका हरफहरू आन्तरिक मनले मात्र बुझ्न सकिने जानकारहरू बताउँछन् । भनिन्छ, ताओको कुनै सुरुवात र अन्त्य छैन । यो निरन्तर प्रवाहमा छ । त्यही प्रभावमा बग्नु नै बुद्धिमतापूर्ण जीवन हो भन्दै यसले मान्छेलाई आत्मासँंग जोड्ने कार्य गर्छ । यसले अहम् केन्द्रित जीवनलाई आविष्कार गर्छ, जसले ‘एक्सन अफ ननएक्सन’को दर्शनलाई प्रोत्साहन गर्छ । ताओमा पानीको रूपकलाई बारम्बार प्रयोग गरिएको छ । जीवनलाई पानीसंँग तुलना गर्दै नदीको प्रवाह विपरीत जानु होइन, संँगै बग्नु प्रवाह हो भनिएको छ । पानी नरम र तरल हुन्छ । तर यसले कठोरतालाई विजय गर्छ । पानीले वनस्पति, जन्तु र मानिस सबैको पालन–पोषण गर्छ ।
प्रकृतिको शक्तिलाई चिन्न र त्यही शक्ति अनुरुप चल्न ताओले सिकाउँछ । धारणा र बुद्धि तत्त्वभन्दा आत्माको संज्ञानमा जोड दिने ताओका शिक्षाहरू हुन्, ‘मान्छेले पृथ्वीको बाटाहरू पछ्याउँछ, स्वर्गका बाटाहरू पछ्याउँछ, स्वर्गले ताओका बाटाहरू पछ्याउँछ, ताओले आफ्नो बाटो पछ्याउँछ’ । दया र करुणाले सधैं जित्छ भन्ने सन्देश बोकेको ताओ ते चिङ आफैलाई जान्ने सरल पुस्तक हो । असक्त नहोऊ, आफूलाई स्वतन्त्र छोड, चेतनाको पवित्रताले देवत्व प्राप्त हुन्छ भन्ने यस ग्रन्थ विनम्र बन्न सिकाउँछ । अद्वैत चेतनाको यो पुस्तकले चिनियाँ धर्मको दुई विपरीत ध्रुव यिङ र याङको सन्तुलित अवस्था नै जीवनको सन्तुष्टि हो भन्ने सन्देश प्रवाह गर्छ । अहिले संसारभरि चीनको समाजलाई बुझ्ने प्रयत्न भइरहेका छन् । नेपालमा पनि राजनीतिक रूपमा चीनको चर्चा चुलिएको छ । विशेष गरेर बेल्ट र रोड अभियान र केरुङ–काठमाडौं रेलमार्गका सन्दर्भमा चर्चा हुने गर्छ । तर चीनका अनेकौं पक्ष छन् । लामो लिखित इतिहास बोकेको ताओ धर्म चीनको अमूल्य ग्रन्थमात्र होइन कि मानव जीवनलाई निर्देशन गर्ने गहकिलो पुस्तक हो । लाओत्सु कन्फुसियसका समकालीन थिए । २५ सय वर्ष अगाडिको त्यो युगलाई जर्मन चिन्तक कार्ल यास्पर्सले ‘एक्सियल एज’ भनेका छन्, किनभने त्यो कालखण्डमा ग्रीकमा अरस्तु, प्लेटो, सोक्रेटस, चीनमा कन्फुसियस, लाओत्सु र दक्षिण एसियामा बुद्ध र महावीरहरू जस्ता धर्म र ज्ञानका आविष्कारहरू जन्मिएका थिए । ताओ ते चिङका लेखक लाओत्सुलाई पश्चिमी जगतका कवि होमरजस्तै पौराणिक व्यक्तित्व मानिन्छ । जसका विषयमा अनेको किंवदन्ती रचिएका छन् । ५० करोड जनताले मान्ने यस धर्मग्रन्थमा कविताका रूपमा ५ हजार शब्दमात्र छन् । शासन र शासकका बारेमा पनि ज्ञान दिन यो दर्शन आज पनि उत्तिकै उपयोगी र शिक्षाप्रद छ ।

विविधा

निजगढमा विमानस्थल किन ?

- राजन पोखरेल

१९९२ जुलाईमा थाई एयरवेज इन्टरनेसनलको एयरबस ३१० र त्यसको दुई महिनाभित्रै पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एयरबस ३०० गरी दुइटा जेट विमान काठमाडौं विमानस्थलमा अवतरण गर्ने क्रममा उपत्यका वरपरको डाँडामा ठोक्किई दुर्घटनाग्रस्त भएका थिए । उक्त दुवै दुर्घटनामा विमानमा सवार सबै २८० यात्रुको ज्यान गएको थियो । यी दुई ठूला दुर्घटनाले काठमाडौं उपत्यकाको विकल्पको रूपमा तराईको उपयुक्त स्थानमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने आवश्यकता महसुस भयो । सोही अनुरुप समथर भूभागमा एउटा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उपयुक्त स्थानको पहिचान गर्न नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसेज सेन्टर लिमिटेड (नेपिकोन) लाई जिम्मा दिइयो ।
नेपिकोनले सन् १९९५ मा प्रस्तुत गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनले निजगढ क्षेत्रलाई भौगोलिक, प्राविधिक तथा आर्थिक सम्भाव्यताको दृष्टिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सर्वाधिक उपयुक्त रहेको प्रतिवेदन प्रस्तुत गर्‍यो । त्यही अध्ययन प्रतिवेदनको आधारमा नेपिकोनले १९९७ मा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक लागत अनुमान सहितको सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गरेको थियो । त्यसपछि सरकार र दक्षिण कोरियाको ल्यान्डमार्क वर्ल्डवाइड कम्पनीबीच दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने सम्झौता भई कम्पनीले २०१५ भित्र एउटा धावनमार्गयुक्त विमानस्थल निर्माण सम्पन्न गर्नेगरी विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन अप्रिल २०११ मा नेपाल सरकारलाई बुझाएको थियो । अहिले उक्त विमानस्थल निर्माणको लागि वातावरणीय प्रभाव मूल्यांकनसमेत स्वीकृत भइसकेको छ । तर यही बीचमा भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको अवस्थामा अर्को किन बनाउनुपर्‍यो वा निजगढ क्षेत्रमै किन बनाउनुपर्‍यो भन्ने विषय पनि केही सरोकारले उठाएका छन् ।

त्रिभुवन विमानस्थलको सीमा
त्रिभुवन विमानस्थल काठमाडौं उपत्यकामा रहेको र यसको चारैतिर अग्ला–अग्ला डाँडाहरू भएकोले वायुयान उडान अवतरणका लागि यो विश्वका कठिन अन्तर्राष्ट्रिय विमानस्थलहरू मध्येमा गनिन्छ । यहाँ ठूला वायुयान सोझै उडान गर्न नमिल्ने, उत्तरबाट दक्षिणतर्फ एकतर्फी उड्न सहज हुने, यहाँको उडान विधिको जटिलता, विमानस्थलको उचाइ र धावनमार्गको लम्बाइका कारण पूर्ण क्षमतामा ठूला विमान उडान अवतरण गराउन सकिँंदैन । यसबाट हवाइसेवा आर्थिक दृष्टिले मितव्ययी हुन नसक्ने र सोको प्रत्यक्ष असर वायुसेवा कम्पनी तथा हवाइयात्रुलाई पर्छ ।
काठमाडौं उपत्यकाको मौसमी अवस्था तथा कमजोर ‘भिजिबिलिटी’मा उडान अवतरण गर्न सघाउ पुर्‍याउने यान्त्रिक उडान प्रणाली जडान गर्न भू–धरातलीय स्वरुपका कारण सम्भव नरहेकोले खराब मौसमका कारण वायुयान लामो समय आकाशमै फन्को मार्नुपर्ने वा भारतका विमानस्थलहरूमा फिर्ता जानुपर्ने अवस्था छ । त्रिभुवन विमानस्थलमा न त हालको धावनमार्गको लम्बाइ बढाउन सकिने सम्भावना छ, न थप अर्को समानान्तर धावनमार्ग बनाउन मिल्ने स्थान छ । यहाँ वायुयान विसान विस्तार, टर्मिनल भवन विस्तार, वायुयान मर्मत–सम्भार गर्ने कार्यशाला, ह्यांगर, विमानस्थल होटल लगायत पूर्वाधार विकासका लागिसमेत स्थान अभाव छ । यस विमानस्थलको धावनमार्ग उत्तर–दक्षिण रहेकोले वायुयान उडान अवतरण गर्दा प्रायःजसो छड्के हावाको सामना गर्नुपर्छ, जुन वायुयान सञ्चालनका दृष्टिले अनुकूल मानिंँदैन । विमानस्थल राजधानीको घना आवादी क्षेत्रमा रहेकोले यहाँको उडानविधिको कारण ठूला वायुयानले सहरमाथि एक फन्को लगाई उड्नुपर्ने बाध्यताले गर्दा विमानस्थल २४ सै घन्टा सञ्चालनमा ल्याउन राजधानीवासीले रात्रिमा ध्वनि प्रदूषण समस्या व्यहोर्नुपर्ने हुन्छ ।

निर्माणाधीन अन्य अन्तर्राष्ट्रिय विमानस्थल
अहिले भैरहवामा निर्माणाधीन मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भारतीय सीमाको अत्यन्त निकट छ र यहाँ समानान्तर धावनमार्ग निर्माणका लागि स्थान उपलब्ध छैन । गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा अवस्थित यो विमानस्थल अत्यन्त सम्भावनायुक्त अन्तर्राष्ट्रिय विमानस्थल हो । तर राजधानी सहर काठमाडौंबाट २६३ किमिको दूरीमा रहेका कारण यो विमानस्थलले काठमाडौंको वैकल्पिक विमानस्थलको रूपमा राजधानीलाई सेवा दिन सक्दैन । जहाँसम्म निर्माणाधीन तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखराको कुरा छ, यो काठमाडौंभन्दा सानो उपत्यकामा रहेको र पोखरा उपत्यकाको भौगोलिक स्वरुपबाट हुने सञ्चालन सीमितताका कारण पनि यो पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल हुन सक्दैन ।
विगत १० वर्षमा यहाँ हवाइयात्रु आवागमन दुई गुणाभन्दा बढी वृद्धि भएको पाइन्छ । सन् २००९–२०१८ सम्मको दस वर्षमा अन्तर्राष्ट्रिय उडानमा वार्षिक हवाइयात्रु वृद्धिदर ९.२ प्रतिशत छ भने आन्तरिक उडानमा यो वृद्धिदर ११.७५ प्रतिशत छ । २०१७ को तुलनामा २०१८ मा हवाइयात्रु संख्या १४ प्रतिशतले बढेको देखिन्छ । २०१८ मा त्रिभुवन विमानस्थलमा करिब ७२ लाख हवाइयात्रु आएका थिए । यस विमानस्थलमा उपलब्ध सीमित भूभागमा थप पूर्वाधार विकास गर्ने हो भने
पनि यसको क्षमता बढीमा ९० लाख हवाइयात्रु धान्ने रहेको छ भने हवाइयात्रु वृद्धिदर यही कायम रहेमा २०२१ मा यो संख्या नाघ्ने देखिन्छ ।
पर्यटनको प्रचुर सम्भावना भएको मुलुकमा यहाँको सामाजिक, आर्थिक विकासका लागिसमेत बढ्दो हवाइयात्रु आवागमनबाट फाइदा लिन र बढीभन्दा बढी पर्यटक भित्र्याउन सक्ने पूर्वाधारको विकास गर्न पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलको टड्कारो आवश्यकता छ ।
निजगढ उपयुक्त
मध्य तराईमा पर्ने निजगढ क्षेत्र काठमाडौंबाट सबैभन्दा नजिक र काठमाडौं–तराई द्रुतमार्गबाट १ घन्टाको दूरीमा छ । विश्वका अन्य अन्तर्राष्ट्रिय विमानस्थलहरू हेर्ने हो भने पनि विमानस्थल र मुख्य सहरको दूरी एक घन्टाको हाराहारीमा रहेको हुँदा राजधानीलाई लक्षित गरी निर्माण हुने यो स्थल उपयुक्त दूरीमा छ । विमानस्थल भारततर्फको दक्षिणी सीमाबाट २७ किमि र पश्चिमतर्फ पर्ने सीमाबाट ४५ किमि रहेकोले हवाई उडानको दृष्टिले १० नटिकल माइलको नियन्त्रित क्षेत्र (कन्ट्रोल जोन) सम्पूर्ण रूपमा नेपाली हवाई क्षेत्रमा पर्ने, वायुयान नेपालको अवरोधरहित स्थानमा नेपालभित्रै होल्डिङ गर्न मिल्ने, विमानले नेपालकै भूभागमा आवश्यक उचाइ लिन सक्ने र विमानलाई नेपालकै भूभागभित्र ओराल्दै अवतरण गराउन मिल्छ ।
साथै अन्तर्राष्ट्रिय उडान आगमनका लागि भारतबाट सहमति जनाइएको जनकपुर प्रवेशबिन्दु हुँदै पूर्वतर्फबाट आउने र भैरहवा प्रवेशबिन्दु हुँदै पश्चिमबाट आउने विमानलाई नेपालकै हवाई क्षेत्रभित्र ओराल्दै अवतरण गराउन मिल्ने हुँदा उडान सञ्चालनका लागि सहज हुन्छ । यो स्थान चुरे डाँडाबाट १५ किमि तथा महाभारत पर्वतबाट ३५ किमिको दूरीमा रहेकोले उडान सञ्चालनका दृष्टिले अवरोधरहित तथा सुरक्षित छ । यहाँ विमानस्थल निर्माणका लागि न्यूनतम भूमि अधिग्रहण गर्नुपर्ने र मानव बस्तीसमेत अत्यन्त पातलो र अधिकांशतः सुकुम्बासी बस्ती रहेकोले निकटस्थ स्थानमा रहेका सार्वजनिक जग्गामा पुनर्वास गराउन सहज छ ।
विमानस्थल निर्माणका लागि जंगलको दक्षिणी सिमानामा रहेको अपेक्षाकृत पातलो जंगलयुक्त करिब दुई हजार हेक्टर सार्वजनिक र निजी जग्गा उपयोग गरिने हुँदा थोरै रुख कटान हुने देखिन्छ । जंगलको सानो अंशमात्र कटान हुने र काटिने रुखको दस गुणा वृक्षरोपण गरी हुर्काउने कानुनी व्यवस्थाका कारण यसबाट वातावरणमा प्रतिकूल प्रभाव हुने देखिंँदैन । विमानस्थल निकटस्थ पर्सा वन्यजन्तु आरक्षबाट २० किमिको दूरीमा छ र यसले उडान अवतरण गर्दा उक्त आरक्षलाई ध्वनि प्रदूषण न्यून गर्ने देखिन्छ । पूर्वतर्फ पसाहा खोला र पश्चिमतर्फ बकाहा खोलाको बीचमा रहेको विमानस्थल क्षेत्रभित्र अन्य कुनै खोलानाला नरहेको र खोला नियन्त्रणसमेत न्यून गर्नुपर्ने स्थिति छ । पूर्वी र पश्चिमी सीमामा अवस्थित यी दुवै खोलाले पूर्व र पश्चिमतर्फबाट हुने वायुयान आवागमनमा विमानस्थलका लागि अवरोधरहित भूभाग उपलब्ध गराएका छन् ।
यस विमानस्थलको प्रस्तावित धावनमार्ग पूर्व–पश्चिम भारतीय सीमाको समानान्तर रहने र दक्षिणी सीमाबाट २७ किमि र पश्चिमतर्फ पर्ने सीमाबाट ४५ किमिको दूरीमा रहेकोले उडान विधिहरू नेपाली हवाई क्षेत्रभित्रै रहनेगरी बनाउन सकिन्छ । यस विमानस्थलको एउटै धावनमार्गले त्रिभुवन विमानस्थलको धावनमार्ग भन्दा तीन गुणा बढी वायुयान सञ्चालन गर्न सक्छ भने भविष्यमा आवश्यक परेमा थप धावनमार्गहरू पनि निर्माण गर्न सकिन्छ । यहाँ वायुयान सञ्चालनका लागि आवश्यक पर्ने ह्यांगर, मर्मत–सम्भार सेवासुविधा लगायतका पूर्वाधार निर्माण गर्न सकिने हुँदा भविष्यमा ट्रान्जिट विमानस्थलको रूपमा विकास हुने सम्भावनासमेत छ ।
द्रुततर सामाजिक, आर्थिक विकासको लागि निजगढ विमानस्थलको महत्त्वबारे उल्लेख गरिरहनु आवश्यक छैन । दशकौंको चर्चा/परिचर्चापछि राज्य अहिले निजगढ क्षेत्रमा एउट पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि दृढ भई अगाडि बढेको छ । विमानस्थल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन र सम्भावित लगानीकर्ता छनोट भई अब निर्माणस्थल उपलब्ध गराउन मात्र बाँकी छ । विमानस्थल निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको यो अवस्थामा राज्यको सर्वाधिक महत्त्वको यस गौरव आयोजनालाई यथाशीघ्र प्रारम्भ गरी सम्पन्न गर्न सम्बद्ध सबै सरोकारवालाहरूको सहयोग आवश्यक छ ।
लेखक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक हुन् ।

विविधा

गुलियो र चिल्लोको गन्थन

- राजेन्द्र कोजु

 

मिठाइ पसलमा बर्फी, लालमोहन, रसबरी, लड्डु, पेडा, रसमलाइ एकातिर सजिएर बसेका छन् । लाखामरी, निम्की, खजुरी, खुवा अर्कोतिर छन् । बिहानै भएकोले बाफिएको हलुवा, तारेको पुरी, भर्खरै चास्नीबाट निस्केको जेरी पनि तम्तयार भएर बसेका छन् । अलि पर फ्रिजमा कोक, फ्यान्टा, स्प्राइट पनि चिसिएर बसेका छन् । ग्यास चुलोमा चियाको खेप उम्लिँदै, ग्लास–ग्लासमा सरेर टेबलमा पुगेका छन् ।
चास्नीको चिनीले, उत्रिँदै गरेको पुरीबाट तपतप चुहिंँदै गरेको तेल (चिल्लो) लाई हेर्दै भन्यो, ‘तँलाई कति मनपराउँछन् है मान्छेहरू ?’
तेलले गजक्क फुल्दै भन्यो, ‘किन नपराउन् त ? म नभई केही पनि परिकार मिठै हुँदैन । हेर न सेलरोटी मेरै तावामा तैरिनुपर्छ । पुरी त्यस्तै । पकौडा, समोसा, निम्की, मालप्वा सबै मैले नै पकाइदिने हो । पोलेर खाए हुने पापड त मैमा डुबुल्की लाउँछ ।’
चिनीले हलुवातिर हेर्दै भन्यो, ‘त्यो हलुवाचाहिँ घिउमा तयार हुन्छ नि ।’
हलुवामा टल्किँंदै बसेको घिउले मुसुमुसु हाँस्दै भन्यो, ‘हामी चिल्लाहरू एउटै ड्याङका हौं ।’
तेलले भन्यो, ‘यसका नि दाइभाइ छन् । बटर, चिज, बोसो के–के जाति हो ।’ तेलले त्यसो भनेको सुनेर
घिउ मख्ख पर्‍यो ।
चिनीले भन्यो, ‘तिमीहरूलाई धेरै खानु हुँदैन भनेर पढ्या थिएँ, हामीलाई पोका पार्ने पत्रिकामा ।’
तेलले भन्यो, ‘हो नि । खानेले पढ्दैनन् । हामीले मात्र पढ्ने त हो नि ।’
घिउले हाँस्दै भन्यो, ‘धेरै खानु हुन्न भनेको, थोरथोरै त हुन्छ रे ।’
चिनी बोल्यो, ‘केको थोरथोरै, बिहान यी यस्तै– हलुवापुरी, जेरी–स्वारी । खानामा मासु, तेल धेरै भएको तरकारी । दिउँसो मःमः, पिज्जा, समोसा मिठाइ । बेलुका जमघट भयो भने तेलमा फ्राइ गरेका के–के हुन् के–के चिकेन फ्राइ, आलु फ्राइ, काउली, भ्यान्टा, मासु, पनिर फ्राइ आदि–इत्यादि । सबै चिल्लै त हुन् नि ।’
तेलले आत्तिँदै भन्यो, ‘हुन्न–हुन्न, यत्तिका धेरै चिल्लो खानु हुन्न त ।’
घिउले विस्तारै चिनीतिर हेर्दै भन्यो, ‘हुन त तँलाई पनि धेरै खान्छन् है ।’
चिनीले खुसी हुँदै भन्यो, ‘हो नि, मेरो त चर्चा गरेरै सकिंँदैन नि । बिहानदेखि रातिसम्म, बच्चादेखि बूढासम्म सबैले मनपराउँछन् ।’
तेलले भन्यो, ‘हलुवा, जेरी, सेल, चिया सबैमा त तैं छस् ।’
चिनीले भन्यो, ‘त्यतिमात्र कहाँ हो र ? ऊ त्यो फ्यान्टा, कोक, स्प्राइट, फ्रुटी, अन्य गुलियो पेयपदार्थ, आइसक्रिममा नभई हुँदैन । केक, पेस्ट्री, रसबरी, लालमोहन, लड्डु, बर्फी सबै प्रकारका मिठाइमा नभई हुँदैन । अझ सोनपापड, लाखामारी, बिस्कुटजस्ता धेरै समय टिकाउन प्याक्ड गरेका खानेकुरामा पनि यथेष्ट हुन्छु ।’
घिउले भन्यो, ‘तँलाई त बोराका बोरै किन्छन् होला है मिठाइ पसलेले त ?’
चिनीले स्वीकार्‍यो, ‘हो यार, ठिक भनिस् । भित्र गोदाममा दुइटा बोरामा छौं ।’
तेलले भन्यो, ‘तेरो भाउ त पहिलेदेखि नै धेरै थियो नि । पहिला–पहिला त मिठो चिया भनेकै चिनी धेरै भएको मानिन्थ्यो । धन्न अहिले अलिक चेतना भए जस्तो छ– चिनी धेरै खानुहुन्न भन्छन् ।’
चिनीले बेलिविस्तार लगाउँदै भन्यो, ‘हो नि । जसरी नुनतेल भान्छामा नभई नहुने भन्थे, त्यसरी नै उत्पादनदेखि हरेक घर–घरमा मेरो उपस्थिति अति आवश्यक हुँदै आयो । खासगरी चियाको लागि । कसैको घरमा परिवारको सदस्य बित्यो भने पनि दुःखको बेला भेटघाट गर्न जाँदा लिएर जाने मुख्य वस्तु पनि चिनी हुनथाल्यो ।’
ध्यान दिएर सुनिरहेको घिउले भन्यो, ‘तेरो उत्पादन घरमै नहुने भएकोले तँलाई फेरि किन्नैपर्ने हुन्छ । तेरो बजार भाउ पनि बेलाबेलामा अकासिन्छ र पो । व्यापारीले नि लुकाउँछन् । हामीलाई त गाउँघरमा अझै घरमै बनाउँछन् । सहरतिर हो, किन्ने ।’
घिउले सोध्यो, ‘अहिले त गाउँमै पनि गाईभैंसी पाल्ने कम भए, पाले पनि दूध नै बेच्छन् । त्यसैले घिउ पनि किन्छन् । तोरी लाउने पनि कम भए । सबैले तेल पनि किन्ने नै भैसके । ‘शुद्ध तोरीको तेल त स्वास्थ्यको लागि पनि लाभदायक छ नि होइन र ?’
तेलले विश्वस्त गर्दै भन्यो, ‘हो नि, अहिलेको वैज्ञानिक आधारमा भन्ने हो भने तोरीको तेल पनि ठिक छ, ठिक्क मात्रामा घिउ पनि ठिक छ ।’
चिनीले अलि रिसाउँदै प्रस्ट्यायो, ‘स्वास्थ्यको लागि हानिकारक त मैमात्र भैराख्या छु नि ।’ मेरो मात्रा धेरै खाए भने मोटाउने सम्भावना एकदम धेरै हुन्छ । मधुमेह हुने सम्भावना पनि बढ्छ । हेर न मधुमेहको नामै मेरो नामबाट राखिदिएको चिनीरोग रे । खानेकुराको नामबाटै रोगको नाम कहिल्यै सुन्या छस् ? घिउरोग, तेलरोग, मासुरोग, अन्डारोग, भातरोग, केरारोग, रक्सीरोग कहिल्यै सुन्या छस् ? कस्तो रिसउठ्दो । मलाई धेरै खाने पनि उनीहरू अनि मेरो बेइज्जत गर्ने पनि उनीहरू नै ।’
तेलले भन्यो, ‘हो नि, मुटुरोग, मस्तिष्कघात, मृगौला खराब, आँखा बिग्रने, स्नायु प्रणालीमा नराम्रो असर पनि मधुमेह हुनेलाई धेरै हुने सम्भावना हुन्छ ।’
घिउले व्यङ्ग कस्यो, ‘के गर्नु ? हलुवा तँ नभई मिठो हुन्न रे, जेरी नि मिठो हुन्न, मिठाइको त कुरै छाडौं । चियामा त जसोतसो चिनी नभएको पनि खान थाल्या छन्, तर चिनी नभा चियासँगै दुइटा जेरी, दुइटा बर्फी खाइदिएपछि चियामा चिनी किन चाहियो र ?’
चिनीले ठूलो स्वरमा भन्यो, ‘मेरो विचारमा मलाई यिनीहरूले प्रयोग नगरेकै राम्रो । मैले दिने शक्ति त धेरै खानेकुराबाट पाइहाल्छ– जस्तै– फलफूल, गहुँ, चामल, मकै, दूध । शक्तिको लागि आवश्यक सुगर (म) अरु खानाबाट प्राप्त हुने भएकोले थप सुगर नखाँदा हुन्छ ।’
घिउले सोध्यो, ‘अनि स्वाद ?’
मुख खुम्च्याउँदै चिनी बोल्यो, ‘बिगारेकै यही स्वादले
त हो नि । स्वाद लिने यो जिब्रोले थाहै पाउँदैन कति
खाने भनेर । प्लेटमा होउन्जेल वा ख्वाउनेले दिउन्जेल नाइँ भन्दैन जिब्रो ।’
तेलले भन्यो, ‘जिब्रोलाई नियन्त्रण त मनले गर्नुपर्‍यो नि । स्वादकै लागि ज्यानलाई नै खराब त हुनदिनु भएन नि ।’
घिउले विस्तारै भन्यो, ‘मनै भाँडेर त नचाहिने काम गर्छन् नि यी मान्छेहरू ।’
चिनीले के–के नचाहिने काम होला भन्ने सोच्यो । ‘हुन त खाने बाहेक पिउने, तान्ने पनि कत्ति नचाहिने गर्दा हुन् ? अरु पनि खै के खै के ?’
तेलले झस्कायो, ‘के टोलाएको ?’
‘केही होइन । मलाई धेरै नखाइदिए हुन्छ भनेर सोचेको ।’ चिनीले आफ्नै कुरा अघि सार्दै भन्यो, ‘हाम्रा यत्ति कुरा पढेपछि त पक्कै चिनी खान छाड्लान् नि वा कम गर्लान् नि है ?’
घिउ बोल्यो, ‘आस गरौं । स्वस्थ रहन मनलाई नियन्त्रण गरेर खानपानमा ध्यान दिनेछन् ।’
तेलले अलि झर्केर भन्यो, ‘ध्यान नदिए नराम्रो बेहोर्ने पनि यिनले नै हो क्यार । हाम्रो काम सम्झाउनु हो ।’
चिनीले बिन्ती गर्‍यो, ‘अबदेखि मलाई धेरै नखानुस् है ।’

Page 7
विविधा

हा भोला हा

सिउँडी
- विमल निभा

इमलीको गाछीतल एउटा धमिलो धब्बा जस्तो देखा पर्‍यो । र, क्रमशः अस्पष्टबाट स्पष्टतर हुँदै गयो । वास्तवमा एउटा साँढे झ्याम्म गाछीको छायामा आफ्नो थकान मेटाउन आराम गरिरहेको थियो ।
यो भारीभरकम साँढे कहिलेकाहीँ मात्र यहाँ देखा पर्थ्यो । आज ऊ आफ्नो शरीर जमिनमा पसारेर सुस्ताइरहेको थियो । केही मसिना पखेटादार किराहरू उसको लत्रिएको बाक्लो छालामा भुनभुन गरिरहेका थिए । तिनीहरूलाई धपाउन एउटा अन्तरालमा साँढे
आफ्नो झ्वाप्प रौं भएको पुच्छर चलाउँथ्यो, प्याट्ट ।
स्थानीय बहुउद्देश्यीय माध्यमिक विद्यालयको खाजा खाने बेला भएकाले विद्यार्थीहरूको हुल हुरुरु बाहिर निस्कियो । थरी–थरीका खोमचावाल लहरै पसल सजाएर बसेका थिए । अलौंवाला मिताको स्वादिलो पानी पुच्की खाने ठाउँमा केटाकेटीहरूका सानोतिनो घुँइचो थियो । लामो डन्डामा कच्ची मिठाई बेरेर, त्यसबाट हुक्का, हवाइजहाज, पंखा, लालटेन, छाता, माछा आकारका गुलियो खेलौना बनाएर बेच्ने बूढो आज उपस्थित थिएन ।
एकाध उरन्ठेउला केटा बाइस्कोप जस्तो थोत्रो टिनको डब्बामा दुवै आँखा घुसारेर स्थानीय छायाचित्र हेरिरहेका थिए । (किसिम–किसिमका रंगीचंगी फोटाहरू देखाउने सिनेमाको एकखाले पूर्वज) ।
केही समयपछि विद्यार्थीहरूका ध्यान इमलीको गाछीतल आरामले पल्टिएको साँढेतिर गयो । एक छिनपछि त्यो चलमलायो । र, चारखुट्टा टेकेर त्यहीं उभियो साँढे । उसको कालो जिउमा चराहरूले
विस्ट्याएकाले ससाना टाटाहरू बनेका थिए । (थोरै घाममा देखियो) ।
पुरै नगर नभइसकेको बस्तीमा छाडा साँढेहरू देखा परिरहन्थे । यस्ता कसबाई साँढेहरू टोल–टोलमा निस्फिक्री आवारागर्दी गर्दै मजाले डुल्ने गर्थे । र, एक दिन अकस्मात अज्ञात पाराले हराउँथे । तर यो निक्खुर कालो साँढेको किस्सा बेग्लै थियो । अर्थात् ‘कलुवा’ को स्थानीय कहानी । पहिले साँढेलाई यही कालो रंगले गर्दा सबै ‘कतुवा’ भनेर बोलाउँथे । तर पछि कलुवा साँढे ‘भोला’ कहलाउन थालियो । भोला प्रायः अलखियामठ पछाडिको चउरमा डेरा जमाएर बस्ने गर्थ्यो । र, एक दिन मठमा आएको कुनै फिरन्ता जोगीद्वारा यसको नाम राखियो– भोला । जे होस् अन्य साँढेहरू जस्तै भोला कहिले बस्तीबाट एक्कासि हराएन । बरु यहाँका कच्ची सडक र अँध्यारा गल्लीहरूमा बराबर देखा परिरह्यो भोला । अर्थात् उमेरले लगभग बूढो भइसकेको साँढे भोला ।
‘धेरै दिनपछि भोला देखियो ।’
एउटा केटाले इमलीको गाछीतिर
देखाएर भन्यो ।
‘आजकाल भोला नुनगोदाम छेउको ढिस्कोमा बसिरहन्छ ।’ अर्को केटाले लगत्तै भन्यो, ‘म सधैँ देख्छु उसलाई ।’
‘केही दिनदेखि भोला त्यहाँ पनि बस्न छाडेको छ ।’ तेस्रो केटाले कुरा काट्यो, ‘भोला अलखियामठतिर नै बस्ने गर्छ ।
‘त्यहाँ बिहान–बेलुकी खान पाउँछ ।’
पहिलो केटाले भन्यो, ‘भोलाको मुख्य ठाउँ पनि त्यही हो नि !’
टिफिन टाइम सकिएको घण्टी टिनिनी बजेपछि विद्यार्थीहरू दगुर्दै आआफ्ना कक्षामा पसे । त्यसपछि खोमचावालहरू पनि घुम्ती दोकानलाई काँधमा बोकेर अन्तै लागे । एकाएक होहल्ला भइरहेको स्थान विलकुलै सुनसान बन्यो । अनि भोला पनि आफ्नो वृद्ध शरीर घिसारेर इमलीको गाछीबाट बिस्तारै अगाडि बढ्यो ।
केही दिनपछि भोला फेरि इमलीको गाछीनेर देखा पर्‍यो । उसको ठूलो ज्यानको ठाउँ–ठाउँबाट भुलभुल रगत निस्किरहेको थियो । भोला निकै घाइते देखिन्थ्यो । असलमा कुरो के भने एउटा खैरो रंगको कुनै परचक्री साँढेले लखेट्दै उसलाई यहाँसम्म ल्याइपुर्‍याएको थियो । र, अर्धमृत अवस्थामा पुगिसकेको रगताम्य भोला इमलीको गाछीतल लडेको थियो, डङ्ग्रङ्ग । अशक्त एवं निरुपाय बूढो भोलातिर हेरेर तरुनो साँढे फुँ फुँ फुत्कार गर्दै उग्र ढंगले ललकारी रहेको थियो ।
यस बखतसम्म विद्यालयको नियमित छुट्टी भइसकेको थिएन । तै पनि स्कुल खाली गरेर हेडमास्टर, मास्टर, अफिसक्लर्क, पियन आदि इमलीको गाछीनेर एकत्रित भइसकेका थिए । अब कुनै बखत पनि साँढे भिडन्तको अर्को राउन्ड आरम्भ हुन सक्थ्यो । एक्कासि बूढो साँढे भोला शरीर तन्काउँदै खडा भयो । र, तरुनो साँढेमाथि आफ्नो तीखो सिङले हिर्कायो । यो अप्रत्याशित आक्रमणले त्यो साँढे केही पछि
हट्यो । तैपनि भोलाको प्रहार रोकिएन । उसको हमलाको निरन्तरता जारी नै रह्यो । अब भने तरुनो साँढेको केही लागेन । ऊ
आफ्नो पुच्छर समेटेर भाग्न थाल्यो । बूढो साँढे भोला सीमापारिबाट आएको खैरो साँढेलाई बेस्सरी लखेटिरहेको थियो । र, स्कुलका
ससाना केटाकेटीहरू ‘हा भोला हा’ भन्दै ताली पिटेर पछि–पछि दगुरिरहेका थिए ।
केहीबेरमै घाइते भोलाले त्यो खैरो रंगको ढमरढुस्स साँढेलाई बेस्सरी लखेट्दा–लखेट्दै बिर्ता, छपकैया, हजारीमल बगैंचा, भन्सार अड्डा हुँदै सीमापारिसम्म पुर्‍यायो ।

विविधा

'अमीरों को होने वाली बिमारी'

सोनु सिनाल
- कान्तिपुर संवाददाता

 

‘डा यलसिसपछि प्रधानमन्त्रीको अवस्था सामान्य’ भन्ने समाचारमा केही साताअघि आँखा पर्‍यो । फेसबुकको वालमा यो खबर पढिरहँदा मेरो हातमा क्याथेटर लगाइएको थियो । कञ्चनपुरको सीमावर्ती उत्तर भारतको सानो सहर खटिमाको एउटा सामान्य अस्पतालमा म डायलसिस गराउँदै थिएँ । देशमा सहज रूपमा स्वास्थ्यसेवा नपाउनुको पीडा मनमा थियो । ‘डायलसिस सकेर मेसिनबाट छुटिएपछिको अवस्थालाई सामान्य भन्ने कि बिरामी ?’ मनमा यो प्रश्नले उत्तर पनि खोज्दै थियो । डायलसिसमा भएकोले म सधैं आफूलाई बिरामी ठान्थेँ । तर प्रधानमन्त्री सामान्य भन्ने समाचारले म पनि बिरामी होइन भन्ने लाग्यो । हुन पनि डायलसिसपछि अर्को तीन दिनसम्म त हामी सामान्य नै हो नि । यही सामान्य र असामान्य अवस्थाको दोसाँधमा बाँचेको बेला फेरि अर्को समाचार पढ्ने मौका मिल्यो, ‘प्रधानमन्त्रीको दोस्रोपटक प्रत्यारोपण हुने ।’ यो प्रत्यारोपण सम्बन्धी समाचारले मेरो ध्यानमात्र तानेन, मलाई ती बिझाइरहने दिनहरूमा फर्काएर लिएर गयो । ती दिनहरू जहाँ एकपटक पनि हुन नसकेको मेरो प्रत्यारोपणको कथा लुकेको थियो ।
मृगौलाको समस्या देखिएपछि २०६९ सालमै डाक्टरले ‘प्रत्यारोपणको तयारी पनि गर्दै गर’ भनेका थिए । त्यसपछि हरेक ३ महिनामा गरिने ‘फ्लोअप’ मा पनि प्रत्यारोपणको तयारीबारे डाक्टरले सोध्थे । २०७४ सालमा डायलसिस सुरु भएपछि त
जाँचका क्रममा मात्र होइन, डायलसिस गर्ने अस्पतालहरूमा डाक्टरदेखि सँगैका बिरामीहरूले समेत प्रत्यारोपणकै सुझाव दिन थाले । तर सामान्य मानिसका लागि मृगौला प्रत्यारोपण ढुंगाको कापमा झरेको बोडीको बीउजस्तै रहेछ— उम्रन सक्दैन, तर आस मर्दैन ।
मृगौला प्रत्यारोपणका लागि आवश्यक अंगदाता र खर्च दुवै कुरा मेरानिम्ति लंकामा सुनजस्तै थिए । प्रधानमन्त्रीज्यूका लागि त अंगदाता सुरुमा बुहारीको अनि अहिले पनि नाता पर्नेहरूको परीक्षण भइरहेको समाचार पढेँ । अब खर्च के कति भन्ने सवाल त सायदै उठ्ला । यो प्रश्नले हामी जस्तालाई भने रातभरि सुत्न दिँदैन । ७ वर्षअघि डाक्टरले प्रत्यारोपणको सुझाव दिएपछि हामीले दाताको खोजी गर्ने दुःसाहस गर्‍यौं । अनि सबभन्दा पहिले नातागोतामा कुरा राख्यौं ।
प्रत्यारोपणका लागि पहिलो आवश्यकता रगतको समूह मिलेको अंगदाताको हो । मेरो रगत ‘बी पोजेटिभ’ । सोही समूहको रगत भएका आफन्तहरूलाई भन्यौं । प्रायः सबैको सुझाव हुन्थ्यो, श्रीमानले दिए हुँदैन र ? श्रीमान ‘ए पोजेटिभ’ समूहका परे । एउटै समूह भएको भए सायद उनले दिइहाल्थे होला । नदिन पनि सक्थे, दिन्थे होला भन्ने मेरो विश्वासमात्र पनि हुन सक्छ । जे होस्, श्रीमानको ग्रुप नमिल्ने भएपछि हामीले नातागोतामा भन्न मिल्नेजति सबैलाई भनिहेर्‍यौं । आफ्नो अंग झिकेर मेरो जीवन बचाउन कसैलाई हिम्मत आएन वा मलाई महत्त्वपूर्ण मान्छे ठानेनन् । प्रायः सबैले भन्थे, ‘म त दिन्थेँ, तर... ।’ सबैले आ–आफ्नै बाध्यता सुनाउँथे । उनीहरूको आँखाबाट हेर्दा सायद यही सही थियो । मृगौला त कसैले दिएनन्, तर सुझावचाहिँ सबैले दिए । फलानोले त किनेर हाल्यो रे, तिमीहरूले किन नगरेको ?
फलानो ठाउँमा पाउँछ रे । यति पैसाको जोहो पनि किन नगरेको ? प्रायः भेट्नेहरू सबैको यस्तै कुरा हुन्थ्यो ।
यता अंगदाता भेटिएका थिएनन् उता मृगौलाको अवस्था भने दिनदिनै नाजुक हुँदै थियो । हरेक महिना विशेष जाँच हुन्थ्यो । खर्चले मनमा गाँठो पार्थ्यो, रिपोर्टहरूले मृत्युले ढोका ढकढकाउन खोजेको चित्र कोर्थे । तैपनि पनि सारा कुरा दाउमा लगाएर जीवन बचाउन हाम्रो खोजी जारी थियो ।
यसै क्रममा २०७४ सालमा डायलसिस सुरु भयो । अस्पतालमै भर्ना हुनुपरेको थियो, एक हप्तासम्म । सोही समयमा सफदरजंग अस्पतालमा एकजना नेपाली सुरक्षा गार्ड भेटिए । उनले भारू १ लाख रुपियाँ पाए मृगौला मिलाइदिन्छु भने । कुरा पत्याउने अवस्था थिएन । उनले फेरि प्रस्ताव राखे, ‘ब्रेनडेथ भएर आउने बिरामीको किड्नी मिलाइदिन्छु । ५ लाख रुपियाँ भारु दिनुपर्छ ।’ छुटकारा पाउनु थियो, हामीले उसलाई पछि सम्पर्क गर्ने भन्दै नम्बर दियौं । यति कुरा गरेबापत पनि उनले चियापानी खर्च भनेर ५ सय रुपैयाँ मागे । सिसी क्यामेरालाई छल्दै हामीले दिएको पचास रुपियाँ लिएर उनी हिँडे । हामी त्यो बेला लगभग ७ महिना दिल्ली बस्यौं । यस बीचमा एकपटक पनि उनले हामीलाई सम्पर्क गरेनन् । अस्पतालमा गएको बेला हामी उनलाई देख्थ्यौं । उनी हामीलाई देखेर लुक्न खोज्थे । पचास रूपैयाँमा झुठो आश्वासन बाँड्नेसँग सायद योभन्दा अरू बच्ने उपाय थिएन ।
२०७४ सालको कुरा । मेरो एकजना नाता पर्ने दाइ एकपटक मलाई भेट्न आए । ४०/४५ वर्षकै उमेरमा गृहस्थी जीवन त्यागेर संन्यासी बनेका थिए उनी । ती दाइले निकै भावुक हुँदै मेरो मृगौला मिल्छ भने दिन्छु भन्ने प्रस्ताव ल्याए । यो कुराले हामीलाई बालुवाको सहरमा पानी भेटिए जस्तै भयो । हामी दुबैले दाइलाई भेट्यौं । रगत जाँच गरियो । खुसीको कुरा दाइको पनि रगत समूह एकै रहेछ । संन्यासी दाइले बहिनीको जीवन बचाउन अंगदान गर्ने वाचा गरे । ‘मन्दिर निर्माणको जिम्मेवारी पूरा गर्न बाँकी छ, काम सकेपछि दिउँला है,’ उनले भने । २०७५ सालको बैसाखमा दाइलाई भेट्न हामी उनले बनाउँदै गरेको मन्दिरमा गयौं । मन्दिरको काम अन्तिम चरणमा थियो । ‘मेरा गुरुले किड्नी पनि ठिक गर्नसक्ने जडिबुटी चिनेका छन् । अहिले त्यो पनि खान सुरु गर्नु,’ उनले नयाँ
प्रस्ताव ल्याए । मन्दिरको काम सकिनु अघि एकपटक त्यो जडिबुटी खाएर हेर्नु भन्ने उनको कुराले हामी दोधारमा पर्‍यौं । एकपटक
जडिबुटी पनि खाने कुरा भारतको सफदरजंग अस्पतालको डाक्टरलाई सुनाउँदा त्यस्तो खाने भए यहाँ नआउनु भनेर हप्काएका थिए । किड्नी दिन्छु भनेको दाइको कुरा सिधै नकार्न पनि मलाई असजिलो भयो । ‘बैनीको नराम्रो सोचेको त छुइन, मेरो कुरामा अलि त विश्वास गर्नुपर्‍यो,’ दाइले जिद्दी गरे ।
दाइको वचन तोड्न नसकेर त्यो जडिबुटी एक महिना खाएँ । सुरुको चार दिन त एकदमै पिसाब लाग्ने भयो । किड्नीले काम पो गर्‍यो कि जस्तो पनि लाग्यो । तर विडम्बना, त्यो जडिबुटीले त उल्टै श्वास फेर्नमा समस्या निम्त्यायो । जडिबुटी दिनेले डायलसिस पनि बन्द गरिदिए हुन्छ भनेको थियो । तैपनि धन्न डायलसिसलाई निरन्तरता दिएकोले थप समस्या भएन । जडिबुटीले काम नगरेको कुरा दाइलाई पनि सुनाएँ । उनले वास्ता नगरेको जस्तो लाग्यो । दाइको उपाय अर्थहीन भयो, उनी त्यसपछि सम्पर्कविहीन भए । त्रिशूल बाबाको नाममा चिनिने उनी आश्रमबाटै गाँजाको धुवाँजस्तै एकाएक हराए ।
कानुनलेेे मान्यता दिएका सबै अंगदातालाई अनुरोध गर्न भने हामीले छोडेनौं । त्यति मात्र नभई हामीलाई सुझाव दिनेहरूले भनेको कुरा गर्न पनि कोसिस गर्‍यौं । मान्छे भेट्नेदेखि लिएर इन्टरनेटमा सर्च गर्नेसम्म । सारा उपायका ढोका चहार्दा पनि समाधान कतै भेटिएन, सपनाहरूसित मात्र जम्काभेट भयो ।
मृगौलाको खोजीका क्रममा श्रीमानको जम्काभेट एकपटक दलालसँग भएछ । उनको कुनै टाढाको साथीले त्यही दलालमार्फत प्रत्यारोपण गरेका रहेछन् । निकै फिल्मी शैलीमा भएको सो भेटबारे उनले मलाई बताउँदा म अचम्म परेको थिएँ । केही पटक जेल पनि परिसकेको दलालले चाहेको बेलामा मात्र फोन सम्पर्क हुन्थ्यो । त्यो पनि फरक–फरक सार्वजनिक ल्यान्ड लाइन नम्बरहरूबाट ।
हामीसँग पैसा नभएको थाहा पाएपछि उसले फोन गर्न छाड्यो ।
यस्तै नयाँ मान्छे, नयाँ कुरा, नयाँ उपाय थाहा पाउने बित्तिकै श्रीमान मलाई सुनाउँछन् । मसँग प्रेम विवाह गरेका श्रीमानले खुसीको कुरा ल्याउँदा उही प्रेम प्रस्ताव ल्याएको झैं लाग्छ । अमेरिकाले मृगौलाको काम गर्ने चिप्स बनायो रे । डायलसिसमा पनि २३ वर्षसम्म बाँचेरे । अब ढुक्क होउ, प्रत्यारोपण हुने सम्भावना छ । यी कुराहरू उनले मेरो आत्मबल बढाउन अपनाएका उपायहरू हुन् भन्ने मलाई स्पष्ट थाहा छ । साथै यो पनि थाहा छ कि यी सबै कुरा सम्भव छैनन् । किनभने त्यसलाई पूरा गर्ने हामीसँग आर्थिक आधार छैन । फेरि पनि बाँच्ने रहर त हो, उनको कुरा पत्याउन मन लाग्छ । केही क्षणको सपना नै सही, पत्याउँछु, अनि मुख मिठ्याउँछु पनि ।
अस्पतालहरू धाइरहनुपर्ने । काठमाडौं, नेपालगन्ज, विराटनगर मात्र नभई भारतको बरेली, दिल्ली, लखनऊ, कलकत्ता, हरियाणा र पंजाव लगायतका अस्पतालसँग जोडिएका मानिस र मृगौलाका बिरामी सम्पर्कमा छन् । उनीहरू उपचारको कुरा गर्छन्, प्रत्यारोपणको विकल्प सुनाउँछन् । कसैले प्रत्यारोपणको बाटो देखाउँछन् । तर सवै कुराको पछाडि ठूलो पैसा जोडिएर आउँछ । मृगौलाको समस्या निको हुने सपनाहरू मलाई फूलमा बसेको रंगीन पुतलीजस्तै लाग्छ, समाउन खोज्यो, फुर्र उडेर जान्छ ।
पुरुषलाई मृगौलाको समस्या भयो भने श्रीमती, आमा, बुबा वा परिवारका कुनै न कुनै सदस्य अंगदान गर्न अघि सर्छन् । महिलाको मृगौलामा समस्या भयो भनेचाहिँ अंगदाता पाउनै सकस । नेपालमा अहिलेसम्म १५ सय जनाको प्रत्यारोपण भइसकेको समाचार केही दिन पहिले पढेकी थिएँ । मलाई लाग्छ, तीमध्ये अधिकांश दाता महिला नै होलान् र लिनेचाहिँ पुरुष । साँच्चै प्रधानमन्त्रीज्यूको पनि त पहिलो प्रत्यारोपणको दाता महिला नै हुनुहुन्थ्यो । र अहिले दोस्रो पटकको लागि पनि दुईजना महिला दाताकै परीक्षण हुँदैछ भन्ने सुन्नमा आएको छ ।
प्रधानमन्त्री नै किन न होस्, मृगौला बिरामीको प्रत्यारोपण भन्ने सुन्दामात्रै पनि आनन्द लाग्छ । प्रत्यारोपण होस्, उनीहरूलाई आराम मिलोस् । कमसेकम माथि मैले भोगेका सकस त उनीहरूले फेरि भोग्न पर्दैन । मेरो जस्तो, परिवारले पसिना बगाएर कमाएको सबै पैसा बालुवामा हालेको पानीजस्तै गरी त बिलाउँदैन । के गर्नु देशमा सजिलो छैन, सरकारले निःशुल्क भनेको डायलसिस सहज नभएपछि पालो नपाएर मृत्यु अंँगाल्ने पालो आएकाहरू मैले नजिकबाट देखेकी छु । घाम अस्ताउन मात्र आउने, सुदूर पश्चिम कञ्चनपुर दूरदराजको दलित परिवारकी म— भएको रित्तिँदै गएपछि मृत्युसँग पनि डर हट्दै जाँदो रहेछ ।
कहिलेकाहीं सोच्छु, धेरै पैसा, ठूलो पद अनि म पुरुष भइदिएको भए मेरो पनि अहिलेसम्म प्रत्यारोपण भइसक्थ्यो कि ? फेरि सोच्छु, दुःखी केलाई हुनु ? जति बाँचिन्छ, खुसी भएरै बाँच्छु । यतिबेला दिल्लीमा भेट भएका अटोरिक्सावाला दाइको कुरा सम्झिन्छु ‘बेहेन, ये तो अमिरों को होने वाली बिमारी है ।’ म प्रार्थना गर्छु, अमिर (धनी) लाई फनि यस्तो रोगले नछोओस् ।
[email protected]

विविधा

रक्सीपीडित समाज

- मधु राई

 

दोस्रो त्रैमासिक परीक्षा अगावै एकजना अभिभावकले ‘म्याम मेरी छोरी अबदेखि आउँदिनन्, नाम काटिदिनु’ भने । पछि बुझ्दा रक्सीप्रेमी बाबुकै कारण आमाले छोरी लिएर माइती गएको थाहा पाएँ । यस्तै केही दिनअघि बेलुकीपख प्रहरीले ‘म्याम तपाईको विद्यार्थी हामीसँग छ, लिन आउनु होला’ भनेर फोन गरे । एकछिनपछि प्रहरी आफैले विद्यार्थी ल्याइदिए । चारदिनदेखि अनुपस्थित विद्यार्थी के कति कारणले घरबाट निस्केको रहेछ भनेर प्रहरीसँगै घर खोज्न निस्क्यौं । संयोगले घर अगाडि नै आमालाई भेट्यौं । आमालाई छोरी किन विद्यालय नपठाएको भन्दा आमाले ‘मेरो घरमा समस्या छ, त्यसैले छोरी नपठाएको म्याम’ भनिन् । गाइँगुइँ बुझ्दा रक्सीकै कारण बेलाबेला श्रीमान–श्रीमतीबीच घरझगडा हुने गरेको कुरा थाहा पाएँ ।
कतिपय रक्सीप्रेमी अभिभावकका छोराछोरीहरू ‘म्याम, मेरो बाबाले हिजो रक्सी खाएर ममीलाई कुट्नुभो, त्यसैले म स्कुल आइन’ भन्ने गर्छन् । यस्ता ससाना विद्यार्थीका कुरा सुन्दा र त्यसमा कहिलेकाहीँ आफै संलग्न हुनुपर्दा म प्रायः किंकर्तव्यविमुढ हुने गर्छु । आफू आंशिक रूपमा रक्सीमुक्त परिवारमा हुर्कने अवसर पाएकोले धन्न पढ्ने अवसर पाएँ भन्ने महशुस गर्छु । र, रक्सीपीडित समाजमा हुर्केका मेरा छोराछोरीले पनि धन्न उच्चशिक्षा हासिल गर्ने अवसर पाए भन्ने ठान्छु । तथापि मेरा छोराछोरीजस्ता अरू कयौं छोराछोरी रक्सीकै कारण बीचैमा पढाइ छाड्न बाध्य छन् । उनीहरूमध्ये केहीले सानैमा प्रेमविवाह गरेका छन् ।
के हुनेखाने, के हुँदाखाने सबै रक्सीप्रेमीहरूको रक्सीप्रतिको आशक्तिले बालबालिका र महिलाहरूको वर्तमानमात्र हैन, भविष्य नै अन्योलग्रस्त बन्दैछ । हुँदाखाने रक्सीप्रेमीलाई लक्षित गरी विभिन्न ब्रान्डका रक्सी र बियर उत्पादक कम्पनीहरूले जोडतोडकासाथ बजारीकरण गरिरहेका छन् ।
पछिल्लो समय सिनेमाघरहरूमा मात्र हैन, बाटाछेउका अधिकांश अग्ला घरका छतमा जताततै राखिएका एलसीडीमा रक्सीजन्य वस्तुको विज्ञापन देखिनु सामान्य भइसक्यो, नेपाली समाजमा । यसरी सूचना र सञ्चारको सहज पहुँचसँगै रक्सीजन्य वस्तुको यस्तो धमाकेदार बजारीकरणले नयाँ–नयाँ रक्सी पारखीहरूको संख्या ह्वात्तै बढेको देखिन्छ । रक्सीजन्य वस्तुको यस्तो बजारीकरणले एकातिर रक्सी उत्पादक र वितरकहरूको आम्दानी बढाएको छ भने अर्कातिर रक्सीप्रेमीहरूको व्यक्तिगत र सामाजिक व्यवहारले पारिवारिक विखण्डनलगायत आपराधिक क्रियाकलापहरूमा बढोत्तरी हुँदैछ । हुनेखाने रक्सीप्रेमीहरूले ब्रान्डेड खान्छन् भने हुँदाखानेलाई घरेलु रक्सीले बढी आकर्षित गरेको पाइन्छ । घरेलु रक्सीका पारखीहरूकाका कारण यसको व्यवसायमात्र बढेको त छ नै, यसले प्रत्यक्ष र परोक्ष रूपमा थुप्रै सामाजिक समस्या पनि निम्त्याउँदैछ ।
विशेषगरी घरेलु रक्सी उत्पादन कार्यमा संलग्न महिलालाई अन्य उत्पादनमूलक कार्यले त्यति आकर्षित गरेको पाइँदैन । कतिपय अवस्थामा राज्यको नीतिमा पनि मेल देखिँदैन । प्रहरीप्रशासनले एकातिर घरेलु रक्सी उत्पादकहरूलाई निरुत्साहित गर्न बेलाबेला छापा मार्ने गरेको छ भने अर्कातिर टोलटोलमा खुलेका किराना पसलेहरूलाई ब्रान्डेड रक्सीजन्य वस्तु बिक्री गर्न छुट दिएको छ । ब्रान्डेड रक्सीजन्य वस्तुको बिक्री–वितरण प्रणालीमा राज्यको उपस्थिति शून्यप्रायः देखिन्छ । कतिपय अवस्थामा रोजगारीको विकल्प नभएका कारण घरेलु रक्सी उत्पादन र बिक्री–वितरण गर्नुपरेको व्यवसायीहरू बताउँछन् । तर, स्थानीय निकायले यिनीहरूको पीरमार्का भने बुझेको देखिँंदैन । उनीहरूका लागि रणनीतिक योजना बनाई आयमूलक वा सीपमूलक कार्यक्रम ल्याउनसकेको देखिंँदैन ।
रक्सीजन्य वस्तुको अध्याधिक सेवनले नेपाली समाजलाई अधोगतितिर लाँदैछ । रक्सीपीडित घरपरिवारका बालबालिका र महिलाहरूको जीवन प्रत्यक्ष र परोक्षरुपमा कष्टप्रद बन्दै गएको छ । कतिपय हुनेखानेहरूले मनोरञ्जनका लागि रक्सी सेवन गरेपनि बहुसंख्यक पुरुषलाई न त छोराछोरीको वर्तमानको चिन्ता छ, न भविष्यको ।
रक्सीपीडित घरपरिवार र समाजका पीडालाई नजरअन्दाज गर्दै आएको राज्यले रक्सी व्यवसायीलाई नियमन गर्न सकेको छैन । बजारक्षेत्र वा एउटा वडामा के कति रक्सी पसल हुनुपर्ने हो भन्ने विषयमा स्थानीय निकाय मौन देखिन्छन् । विराटनगर महानगरपालिकाका हरेक वडाका चोक–चोकमा यस्ता पसल खुलेका छन् । यस्ता पसलहरूहरूको नियमन फितलो भएको कारण विराटनगर रक्सीमैत्री नगर बन्दै गएको छ ।
त्यतिमात्र हैन, छिमेकी राज्य विहारमा जथाभावी रक्सी किनबेच र सेवन गर्न नपाइने भएकोले त्यहाँका उपभोक्ताका लागि सहज र नजिकको गन्तव्य बनेको छ, विराटनगर महानगरपालिका । पछिल्लो समय विहारका कतिपय हुनेखाने भारतीयहरूले बिहेभोजजस्ता कार्यक्रमहरू विराटनगरका पार्टी प्यालेसमा आयोजना गर्नुको धेरथोर कारणमध्ये रक्सीमैत्री नगर भएर हो ।
रक्सीमैत्री विराटनगर महानगरपालिकामा सुषुप्त अवस्थामै भएपनि २०६९ सालदेखि नागरिक समाजका अभियन्ताहरूले विभिन्न समयमा रक्सी व्यवसायलाई व्यवस्थापन र नियमन गर्नुपर्ने माग राखी अभियान थालेका छन् । विराटनगर १२ का अभियन्ता फणिन्द्र नेपालको सक्रियतामा सुरु भएको मदिरा व्यवस्थापन अभियानले यो व्यवसायलाई राज्यले नियमन गर्नुपर्ने माग राख्दै आएको छ ।
केही दिनदेखि महानगरपालिकाले अनधिकृत रूपमा हैन, लाइसेन्स लिएरमात्रै रक्सी बेच्न नगरबासीलाई माइकिङ गरेर सूचना सम्प्रेषण गर्दै आएको छ । महानगरले खुलेका रक्सी पसलहरूलाई नियमन र व्यवस्थापन गर्नु त कता हो कता, अझ नगरबासीलाई लाइसेन्स लिएर बेचबिखन गर्न आह्वान गरेसँगै नगरबासीलाई रक्सी व्यवसाय गर्न थप प्रोत्साहित गरेको देखिन्छ । विगतमा कतिपय घरेलु रक्सी उत्पादक र किराना पसलमा अनधिकृत रूपमा रक्सी बेचबिखन गर्दै आएका अधिकांश व्यवसायीहरूले लाइसेन्स लिएर पसल सञ्चालन गर्दै आएका छन् । रक्सी व्यवसायीबाट सरकारले राजस्व संकलन गर्दै आएकोले पनि बेलाबेला यसरी माइकिङ गरी लाइसेन्स लिएर आधिकारिक रूपमा रक्सी व्यवसाय गर्न प्रोत्साहन गर्दै आएको देखिन्छ ।
रक्सी व्यवसाय गर्न प्रोत्साहित गर्ने सरकारले रक्सीले परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे सोचेको देखिँंदैन । घरपरिवार र समाजमा रक्सीले पार्ने नकारात्मक र दीर्घकालीन प्रभावबारे मिहिन अध्ययन गर्न राज्य चुकेको छ । छिमेकी मुलुक भारतको विहार राज्यमा जथाभावी रक्सी सेवन र बेचबिखनले पार्ने नकारात्मक प्रभावलाई कम गर्न प्रतिबन्ध लगाएको देखिन्छ । हामीकहाँ पनि विहारमा जस्तै रक्सी सेवनलगायत जथाभावी बेचबिखनमा प्रतिबन्ध लगाउने हो भने ढिलो–चाँडो यसकै कारण हुने पारिवारिक विखण्डन रोकिनुका साथै आपराधिक क्रियाकलापमा कमी आउने देखिन्छ ।

 

Page 8
स्वास्थ्य

गुणकारी अनार

- कान्तिपुर संवाददाता

अनार स्वास्थ्यको दृष्टिले एक महत्त्वपूर्ण फल हो । यो हरेक प्रकारको रोगमा सेवन गरिन्छ । स्वास्थ्यसम्बन्धी गुणकै कारण यो हलिउड सेलेब्रिटीमा समेत अत्यन्त लोकप्रिय छ । भनिन्छ, यसको नियमित सेवनले बूढो हुने प्रक्रिया मत्थर हुन्छ ।
अनारमा प्रचूर मात्रामा लाभदायक प्रोटिन, कार्बोहाइड्रेड, फाइबर, भिटामिन र खनिज पदार्थ पाइन्छ । एक सय ग्राम अनार खाँदा हाम्रों शरीरलाई करिब ६५ किलोक्यालोरी ऊर्जा प्राप्त हुन्छ । अनारको प्रयोग थुप्रै आयुर्वेदिक औषधि बनाउनसमेत प्रयोग गरिन्छ ।
अनारमा गरिएको अध्ययनअनुसार, यो रक्तसञ्चारसँग सम्बन्धित रोगसँग जुध्छ । अनारले उच्च रक्तचाप घटाउँछ । सुन्निएको वा डढेकोमा राहत पुर्‍याउँछ । गठिया तथा बात रोगको सम्भावना घटाउँछ । यस्तै यसले जोर्नीको दुखाइमा समेत राहत पुर्‍याउँछ । क्यान्सर रोकथाममा समेत अनार सहयोगी मानिन्छ ।
अनारले शरीरमा बुढ्यौलीको गतिलाई मत्थर पार्छ । यसले महिलामा मातृत्वको सम्भावना र पुरुषमा पुरुषत्वसमेत बढाउँछ ।
अनारबारे दुई सयभन्दा बढी अध्ययन अनुसन्धानसमेत भएका छन् । इजरायलको हाइफा विश्वविद्यालयका प्रा. एफ्राइम लास्कीले अनारमा पाइने उपयोगी तत्त्व शरीरको रोगप्रतिरोधी प्रणालीको रक्षा गर्ने कुरा प्रमाणित गरेका छन् । उक्त अध्ययनअनुसार अनारमा पाइने भिटामिन, खनिज तत्त्व र एन्टिअक्सिडेन्ट अर्थात् अक्सीकरण रोधक पदार्थले रुघाखोकी, फ्लुमा प्रत्यक्ष अनुभव गर्न सकिने गरी आराम पुर्‍याउँछ । अनारले छाला, स्तन, प्रोस्टेट ग्रन्थीको क्यान्सर तथा पेटको अल्सरको सम्भावनामा समेत कमी ल्याउँछ । अमेरिकी चिकित्सकहरूको पत्रिकाले हालै अनारको रस खाँदा वृद्घावस्थामा हुने रोग अल्झाइमरको सम्भावनामा समेत कमी ल्याउने कुरा उल्लेख गरेको छ ।
अनारमा भएको अत्यधिक मात्रामा अक्सीकरण रोधक पदार्थ (एन्टिअक्सिडेन्ट) ले गर्दा स्वास्थ्यवर्धक गुण पाइन्छ । एन्टिअक्सिडेन्ट यस्तो यौगिकलाई भन्छौं जो शरीरमा ‘मेटाबोलिज्म’ क्रियाको समय उत्पन्न हुने तथाकथित ‘फ्रि–र्‍याडिकल्स’ लाई बाँधेर अगाडिको रासायनिक क्रियालाई रोक्छ ।
वैज्ञानिकहरूले पत्ता लगाएअनुसार, अनारमा रेड वाइन वा हरियो चियाको तुलनामा तीनदेखि चार गुणा बढी पालिफेलोनजस्तो एन्टिअक्सिडेन्ट हुन्छ जो फ्रि–र्‍याडिकल्सलाई बाँध्ने काम गर्छ ।
प्रयोगहरूअनुसार एक वर्षसम्म अनार सेवनपछि ‘आर्टेरियोस्क्लेरासिस’ अर्थात् धमनीसम्बन्धी रोगीको गलाको धमनीको मोटाइ ३० प्रतिशतसम्म घटेको पाइयो । यस्तै उच्च रक्तचाप २१ प्रतिशतसम्म घट्नुका साथै हृदय नजिकको धमनीमा तनावजन्य कठोरताले गर्दा मत्थर हुन गएको रक्त प्रवाह तीन महिनामै १७ प्रतिशतसम्म सुधार भएको देखियो ।
अन्य अध्ययनहरूमा यसले छाती, फोक्सो, छाला, आन्द्रा र प्रोस्टेट क्यान्सर बढ्ने गतिलाई मत्थर पारेको समेत देखिएको छ ।
फ्रि–र्‍याडिकल्सलाई बाँधेर निष्क्रिय बनाउने अनारको क्षमताका कारण शरीरको बूढो हुने गतिसमेत मत्थर हुन्छ र रजोनिवृत्तिको समय महिलामा हुने समस्या कम हुन्छ ।

Page 9
विदेश

चार आरोपित प्रहरीबाट मारिए

हैदराबाद बलात्कार प्रकरण
तेलंगना प्रहरीले ‘फेक इन्काउन्टर’ गरेको विपक्षी दल, अधिकारकर्मी र पत्रकारको दाबी
- सुरेशराज न्यौपाने
महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका चार आरोपित प्रहरीको गोलीले मारिएपछि भारतको हैदराबादस्थित घटनास्थलमा भेलामा स्थानीय । तस्बिर ः एपी

(नयाँदिल्ली) - भारतको हैदराबादमा गतसाता भएको बलात्कार र हत्याका चार जना आरोपितलाई प्रहरीले ‘इन्काउन्टर’ गरेको छ ।
तेलंगना प्रहरीको नियन्त्रणमा रहेका आरोपितलाई शुक्रबार बिहान ३ बजे ‘इन्काउन्टर’ गरिएको हो । उनीहरूमाथि २७ वर्षीय पशु चिकित्सकको बलात्कारपछि हत्या गरेको आरोप लगाइएको थियो ।
तेलंगना प्रहरीमाथि आरोपित चारै जनालाई ‘फेक इन्काउन्टर’ गरेको आरोपसमेत लागेको छ । त्यसको जवाफमा प्रहरीले घटनाको सजीव चित्रण लिन आरोपितलाई घटनास्थलमा लगिएको तर त्यहाँ पुगेपछि उनीहरूले प्रहरीको हतियार खोस्न खोजेको तथा नियन्त्रणबाट फुत्केपछि आत्मरक्षाका लागि गोली चलाएको दाबी गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले आरोपितलाई हैदराबाद छेउको छत्तापल्लीमा पुर्‍याएको थियो । त्यहाँ पुर्‍याएपछि चारै जनामाथि गोली प्रहार गरेको आंशका गरिएको छ । प्रहरीले त्यस्तो दाबी गरे पनि अदालती प्रक्रिया जारी रहेका बेला बिहीबार राति एकाएक प्रहरी एनकाउन्टरमा चारै जना मारिनुले भारतीय लोकतन्त्र र न्याय प्रणालीको खिल्ली उडाएको भन्दै विरोधसमेत भएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना भएको राति आरोपितहरूले सडक छेउमा रोकिराखेको महिलाको स्कुटरको टायर पन्चर गरेका थिए । त्यसपछि उनीहरूले महिलालाई नजिकैको पर झाडीमा लगेर बलात्कार गरेका थिए । प्रहरी अनुसन्धानअनुसार महिलालाई बलात्कारपछि मट्टितेल खन्याएर आगो लगाइएको थियो ।
घटनाको भोलिपल्ट दूध बेच्ने एकजना स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव जलेको अवस्थामा भेटिएपछि हैदराबादमा प्रदर्शन चर्केको थियो । प्रदर्शनमा संलग्नहरूले आरोपितलाई तत्काल पक्रेर कडाभन्दा कडा सजाय दिनुपर्ने माग गर्दै आएका थिए ।
त्यसपछि तेलंगनाका मुख्यमन्त्री केसी रावले फास्ट ट्र्याक गठन गर्दै तत्काल जाँचको आदेश दिएका थिए । स्थानीय अदालतले आरोपित चारै जनालाई दुई साताका लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो ।
इन्काउन्टर घटनापछि भारतमा प्रहरीको पक्षविपक्षमा बहस चर्किएको छ । विपक्षी दलहरू, अधिकारकर्मी तथा पत्रकारहरूले घटनाले विधिको शासनको खिल्ली उडाएको भन्दै विरोध गरेका छन् भने केही राजनीतिक कर्मी तथा विश्लेषकहरूले त्यसको समर्थन गर्दै तेलंगना प्रहरीको प्रशंसा गरेका छन् ।
भारतको राष्ट्रिय मानवअधिकार आयोगले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । त्यसैगरी, भारतको राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले घटनाले संविधान र कानुनी प्रक्रियामाथि प्रश्न उठाएको बताएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार राजनीतिकर्मी, अधिकारकर्मी, पत्रकार तथा विपक्षी दललेसमेत घटनाप्रति विरोध जनाएका छन् ।
विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री पी चिदम्बरमले घटनाप्रति चासो व्यक्त गर्दै छानबिनको माग गरेका छन् । त्यसैगरी, वरिष्ठ पत्रकार तथा विश्लेषक शेखर गुप्ताले घटनाप्रति आक्रोश जनाउँदै हैदराबाद घटनाप्रति दंग हुनेहरूले आईएसले टाउको काटेको, तालिवान र माओवादीले आफैं मृत्युदण्डको सजाय दिएका घटनाप्रति गुनासो गर्न नमिल्ने भनेका छन् ।
त्यसैगरी, महिला अधिकारकर्मी तथा लेखिका सोनम मित्तलले आफू स्वयं बलात्कार पीडित भए पनि पछिल्लो घटनालाई समर्थन गर्न नसकिने जनाएकी छन् । ‘म आफैं बलात्कारपीडित तर लैंगिक न्यायका नाममा दिइएको यस किसिमको सजायको भर्त्सना गर्छु,’ उनले
ट्वीटमा लेखेकी छन् ।
कतिपय सत्तापक्षीय सांसदले पनि घटनाको विरोध गरेका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नेतृ मेनका गान्धीले घटनाप्रति
आपत्ति जनाउँदै तेलंगना प्रहरीको आलोचना गरेकी छन् । ‘जे भयो देशका लागि अत्यन्त भयानक भयो । कसैलाई पनि मार्न पाइँदैन । कसैले पनि कानुन हातमा लिन मिल्दैन । आरोपितलाई अदालतले नै फाँसी दिन सक्थ्यो,’ पूर्व केन्द्रीय महिला तथा बालविकास मन्त्रीसमेत रहेकी गान्धीले भनेकी छन् ।
सत्तारुढ पक्षका र अन्य केही राजनीतिकर्मी भने घटनाको समर्थनमा उभिएका छन् । समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले हैदराबाद घटनाप्रति संकेत गर्दै पीडितले न्याय पाएको ट्वीट गरेका छन् । त्यसैगरी, पूर्वमन्त्री राज्यवर्द्धन राठौरले पनि राजनीतिक नेतृत्वले पनि यही शैलीमा काम गर्नुपर्ने भन्दै घटनालाई लिएर प्रहरीको प्रशंसा गरेका छन् ।
सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) की नेतृ मिनाक्षी लेखीले शुक्रबार भारतको तल्लो सदन लोकसभामा प्रहरीलाई हतियार खेलौनाका रूपमा राख्न नदिइएको बताउँदै घटनाको बचाउ गरेकी छन् ।

विदेश

जलवायु सम्मेलन कार्बन व्यापारमा केन्द्रित

- अब्दुल्लाह मियाँ
स्पेनको राजधानी म्याड्रिडस्थित जलवायु परिवर्तनसम्बन्धी सम्मेलन स्थलबाहिर प्रदर्शन गर्दै अधिकारकर्मी । तस्बिर ः एपी

(म्याड्रिड) - स्पेनको राजधानी म्याड्रिडमा जारी जलवायु सम्मेलनमा कोप–२५ मा जलवायु परिवर्तसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्षधर देशहरू पेरिस सम्झौताको धारा ६ को प्रभावकारी कार्यान्वयन गर्ने विषयमा केन्द्रित भएका छन् ।
धारा ६ मा वन विनाश तथा वन क्षयीकरणबाट उत्पन्न हुने उत्सर्जनको न्यूनीकरण (कार्बन व्यापार) को विषय समेटिएको छ । त्यसैगरी, आफूले उत्सर्जन नगर्ने तर वन संरक्षणमार्फत हरितगृह ग्यास उत्सर्जन हुनबाट रोक्ने देशले विकसित देशबाट प्राप्त गर्नुपर्ने आर्थिक सहयोग प्रभावकारी हुनुपर्ने मुद्दाबारे समेत छलफल भएको छ । त्यस्तो आर्थिक सहयोग स्थानीयस्तरमा प्रभाव भोगिरहेका समक्ष पुग्ने गरी तर्जुमा गर्नुपर्ने मागसमेत सम्मेलनमा उठाइएको छ ।
प्राकृतिक स्रोत विशेषज्ञ दिलराज खनालका अनुसार जलवायु परिवर्तनको असर न्यूनीकरणका क्रियाकलाप गैरव्यापारिक ढाँचामा लैजान सकियो भने मात्र नेपालजस्ता अति कम विकसित मुलुकको हित हुन्छ । व्यापार गर्ने गरी बनाइएका परियोजनाले समुदायको हित नहुने उनको जिकिर छ । छलफलले पेरिस सम्झौताको धारा ६ को आधारमा आन्तरिक रुपमा तीनटा अलग मस्यौदा तयार गरे पनि सार्वजनिक गरिसकिएको छैन । खनालले धारा ६ अनुसार परियोजना बन्दा समुदायमुखी बन्नुपर्ने तर्क गरे । ‘विगतमा बनेका परियोजना सरकार र एनजीओलाई फाइदा हुने गरी बनेका थिए,’ खनालले कान्तिपुरसित भने, ‘अब धारा ६ को नियम पुस्तक (रुल बुक) बन्दा समुदायलाई कसरी फाइदा दिन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ भन्ने हाम्रो जोड हो ।’
जलवायु न्यूनीकरणका परियोजना तयार गर्दा पनि विकसित मुलुकहरूले आफैं फाइदा लिने गरीभन्दा पनि गैरमुनाफाका हिसाबले दायित्व सम्झेर सहयोग गर्न हात बढाउनुपर्ने खनालको तर्क छ । विगतको दिगो विकास संयन्त्र (सीडीएम) मा थाती रहेका कार्बन एकाईलाई पेरिस सम्झौताको धारा ६ अन्तर्गत ल्याउने कि नल्याउने भन्ने विवाद पनि कायमै छ । त्यसबारे पनि यहाँ छलफल जारी छ ।
कतिपयले सीडीएमको कार्बन एकाईलाई पेरिस सम्झौतामा मिसाउन नहुने जिकिर गरेका छन् । सीडीएमका कार्बन एकाईहरू विगतमा अपारदर्शी र समुदायको हितकर नहुने गरी बनाइएकाले तिनलाई अहिलेको दिगो विकास संयन्त्र (एसडीएम) मा मिसाउँदा स्थानीय समुदायलाई हित नहुने खनालको तर्क छ । बुँदा ४ अनुसार परियोजना बनाउँदा घरधुरी तहसम्म पुग्ने गरी बनाउनुपर्ने उनी बताउँछन् । ४ मा दिगो विकासलाई बढावा दिँदै हरितगृह ग्यास उत्सर्जनको न्यूनीकरणलाई प्रवर्द्धन गर्ने र अधिकारप्राप्त सार्वजनिक तथा निजी निकायहरूबाट भएको हरित गृह ग्यास उत्सर्जनको न्यूनीकरणमा हुने सहभागितालाई अभिप्रेरित गर्ने र सहजीकरण गर्ने उल्लेख छ । चार वर्षअघि फ्रान्सको पेरिसमा कोप–२१ का क्रममा भएको पेरिस सम्झौतालाई जलवायु परिवर्तनसम्बन्धी सन् १९९५ देखि जारी छलफलमध्ये महत्त्वपूर्ण उपलब्धि मानिन्छ ।

विदेश

मजदुर आन्दोलनले फ्रान्स अस्तव्यस्त

खटाइयो सेना
- ददी सापकोटा
फ्रान्समा गरिएको देशव्यापी हड्तालका क्रममा प्रदर्शन गर्दै रेलसेवाका मजदुर । तस्बिर ः एपी

(पेरिस) - वृद्धभत्ता कटौती र निवृत्तिभरणमा असन्तुलित वितरणविरुद्ध विभिन्न मजदुर युनियनले गरेको आमहड्तालका कारण फ्रान्सको जनजीवन अस्तव्यस्त बनेको छ ।
रेल, मेट्रो, फेरी तथा फ्रान्सबाट अन्य मुलुक जोड्ने लामा दूरीका रेल सेवासमेत प्रभावित भएका छन् । सयौं उडान रद्द गरिएछि पर्यटक निकै मारमा परेका छन् । आन्दोलनमा शिक्षक तथा हुलाक सेवाका कर्मचारी तथा रेलसेवा, प्रहरी, स्वास्थ्य, विद्युत् प्रधिकरणलगायतका अधिकांश मजदुर युनियन सहभागी छन् ।
प्रदर्शनकारीले शुक्रबार बिहानै रुवाँ सहरमा ग्रिनेट हानेर सडक अवरुद्ध पारेका छन् । उत्तरी फ्रान्सको बुलोन्यमा प्रदर्शनका कारण सवारीसाधन ठप्प छन् । आन्दोलनकारीले ओर्लेआ सहर नजिक इन्धन बोकेका ट्यांकरलाई नियन्त्रणमा लिएका छन् ।
इन्धन आपूर्तिकर्ताले करिब दुई सय पेट्रोल पम्पमा तेल रित्तिइसकेको र ४ सय पेट्रोलपम्पमा स्टक नरहेको जनाएका छन् । सुरक्षाकै कारण देखाउँदै फ्रान्सको प्रमुख पर्यटकीय आकर्षण आइफल धरहरासमेत बन्द गरिएको छ । आमहड्तालको मौका पारेर जिले जोन (गिलेत्स जौनेस) र ब्ल्याक ब्लक भनिने समूहको समेत सहभागिता देखिएपछि सरकारले सुरक्षा व्यवस्थालाई अझ कडा पारेको छ । सम्भावित आक्रमणलाई ध्यानमा राखेर विभिन्न स्थानमा सेना परिचालन गरिएको छ । पेरिस सहरमा मात्रै ६ हजार सुरक्षाकर्मी थप गरिएको छ । सुरक्षामा खटिएका प्रहरीलाई आवश्यकताअनुसार बल प्रयोगको अधिकार दिइएको छ । पहेंला कोटधारी (जिले जोन) हरू कनै राजनीतिक पार्टीसँग आवद्ध नभए पनि फ्रान्समा गत एक वर्षदेखि सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् । यही समूहसँगै ब्ल्याक ब्लक भनिने युरोपभरि नै सक्रिय साम्राज्यवादविरोधी उग्रसमूहको समेत संलग्नता देखिएपछि सरकार सशंकित बनेको छ ।
त्यस्ता समूहहरूले शान्तिपूर्ण आन्दोलनमा घुसेर विस्फोट गर्ने, सुरक्षाकरीमाथि आक्रमण गर्ने तथा आन्दोलन चर्काउने गर्छन् । कालो पोसाक र कालै मुकुन्डोमा उपस्थित ब्ल्याक बक समूहले प्रदर्शनीकारीको पहिलो लहरमा बसेर सुरक्षा निकायको प्रतिवाद गर्ने बताइसकेका छन् । आमहड्ताल आह्वान गरेका मजदुरहरूले राजधानी पेरिस, बोर्दो, मासेई, लिल, निस, तुलुजलगायतका मुख्य सहरमा प्रदर्शन जारी राखेका छन् । मेट्रो, रेल, बस र अन्य यातायात सुविधामा आज ९० प्रतिशतसम्म कटौती गर्दा पर्यटकले सास्ती व्यहोर्नुपरेको छ ।
फाट्टफुट्ट रूपमा यातायात चले पनि तिनले सर्वसाधारण र पर्यटकको खाँचो धान्न सकेको छैन । जिलेजोन र ब्ल्याक ब्लक समूहसमेत सहभागी हुने भन्ने खबरले गर्दा सर्वसाधारणहरूको आवतजावत कम भएको छ । प्रदर्शनकारीहरूले सरकारले अगाडि सारेको वृद्धभत्ता र निवृत्तिभरण कटौतीको प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी राखिने बताएका छन् । उता सरकार पनि यो प्रस्तावबाट पछि नहट्ने देखिन्छ । फ्रान्सको यातायात मन्त्री एलिजाबेथ बर्नले शुक्रबार बिहानै सरकार यो प्रस्तावबाट पछि नहट्ने बताएकी छन् । सरकारको यो भनाइले अन्दोलनकारीहरू झन क्रूद्ध बनेका छन् ।
मन्त्रीको यो भनाइपछि प्रदर्शनकारीहरूले आन्दोलन नयाँ वर्षसम्म लम्ब्याउने चेतावनी दिएका छन् । प्रतिपक्षी दलका नेताहरूले पनि आन्दोलनकारीलाई समर्थन गर्दै सरकारले सरकारले आफ्नो प्रस्ताव फिर्ता लिनुपर्ने माग गरेका छन् । पाख्यी द गोस पार्टीका नेता तथा सांसद जा लुक मेलसोले सरकारको विरोध र प्रदर्शनकारीको समर्थन गर्दै आन्दोलन जारी राख्नुपर्ने बताएका छन् ।

विदेश

सीमाविवाद टुंग्याउन राष्ट्रसंघलाई आह्वान

- कान्तिपुर संवाददाता

लन्डन (कास)– ग्लोबल पोलिसी फोरम नेपालले कालापानीलगायत क्षेत्रबारे नेपाल तथा भारतबीच उत्पन्न सीमाविवाद अनुगमन गरी तनाव अन्त्यका लागि पहल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई आह्वान गरेको छ ।
यूकेमा मुख्यालय रहेको फोरमले एक विज्ञप्ति प्रकाशित गर्दै लिम्पियाधुरा, लिपुलेख तथा कालापानी क्षेत्र आफ्नो सीमाभित्र देखाउने नक्सा प्रकाशित गरेर भारतले आक्रामक स्वरूप प्रस्तुत गरेको ठहरसमेत गरेको छ । ‘ती क्षेत्रको अवस्थिति स्वतन्त्र नेपाल तथा तत्कालीन औपनिवेशिक भारतबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिबाट निर्क्यौल भइसकेको हो,’ फोरमले भनेको छ ‘नेपाल तथा भारतबीच त्यसपछि भएका सन्धिहरूले सुगौली सन्धिद्वारा निर्धारित सीमालाई मान्यता दिँदै आएका छन् । त्यसैले नेपालसँग सम्पर्क नगरीकनै एकपक्षीय रूपमा नक्सा प्रकाशित गर्ने भारत सरकारको काम गैरकानुनी छ र त्यसको कुनै कानुनी हैसियत छैन ।’
फोरमले सीमाविवाद समाधान गर्न दुवै मुलुकलाई सहयोग गर्न आफू तयार रहेको जनाएको छ । ‘ऐतिहासिक प्रमाण तथा अन्तर्राष्ट्रिय कानुनका आधारमा कालापानी र सुस्ता क्षेत्रको विवाद समाधानका लागि सघाउन फोरम तयार छ,’ फोरमका अध्यक्ष तथा लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले भने ।
सुवेदीले यो विषय आपसी सम्मान र विश्वासका आधारमा नियमित कूटनीतिक माध्यमबाट समाधान गर्न पहल गर्न दुवै मुलुकलाई आग्रहसमेत गरेका छन् । ग्लोबल पोलिसी फोरम नेपालले मानवअधिकार, शिक्षा तथा कानुनका विषयमा नेपाल सरकार तथा नेपालीहरूलाई स्वतन्त्र, निष्पक्ष र गैरराजनीतिक नीतिगत परामर्श दिने गर्छ ।

विदेश

गोलीकाण्डमा ४ को मृत्यु

- एजेन्सी

फ्लोरिडा – अमेरिकाको फ्लोरिडामा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा ४ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमध्ये २ जना सर्वसाधारण र २ संदिग्ध आक्रमणकारी छन् ।
फ्लोरिडाको मियामीस्थित एक गहना पसलमा केही बन्दुकधारीले आक्रमण गरी गहना लुट्ने प्रयास गरेका थिए । त्यस क्रममा ती बन्दुकधारीले हानेको गोली लागेर पसलमा काम गर्ने एक कर्मचारी मारिएका छन् । त्यस लगत्तै उनीहरूले अपहरण गरी लगेका पसलका सवारीचालकलाई पनि मारिदिएको जनाइएको छ ।
प्रहरीले हानेको गोली लागेर गहन पसल लुट्न आएका दुई जना बन्दुकधारी मारिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । केही सामान लुटेका उनीहरूले पसलको एक सवारी साधन तथा चालकलाई समेत नियन्त्रणमा लिएर भाग्ने प्रयास गरेका थिए । तर घटनास्थलमा तत्काल प्रहरी पुगेकाले उनीहरू भाग्न असफल भएका थिए । भाग्ने क्रममा प्रहरीले गोली चलाउदा दुई सन्दिग्धको मृत्यु भएको हो । सवारी चालकको समेत प्रहरीको गोलीका कारण ज्यान गएको हुनसक्ने जनाइएपनि अधिकारीले अस्वीकार गरेका छन् । गोलीकाण्डबारे थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।

Page 10
समाचार

लोकप्रिय मतमा नेकपालाई पछ्याउँदै कांग्रेस

उपनिर्वाचन समीक्षा
- राजेश मिश्र

(काठमाडौं) - उपनिर्वाचनमा जितेको पद संख्यामा सत्तारूढ नेकपाले कांग्रेसलाई धेरै पछाडि पारे पनि लोकप्रिय मत भने थोरै मात्र अन्तर रहेको छ ।
प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहका रिक्त ५२ स्थानका लागि भएको उपनिर्वाचनमा नेकपा र जनमोर्चाको गठबन्धनले ३१ स्थान जित्दा कांग्रेसले १३ मात्रै जितेको छ । वाम गठबन्धनले ६० र कांग्रेसले २५ प्रतिशत स्थान जितेका हुन् । लोकप्रिय मत अन्तरमा भने कांग्रेस वाम गठबन्धनभन्दा ५ प्रतिशतले मात्रै पछाडि छ ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपा र जनमोर्चाको गठबन्धनले कुल सदर मतको ४७ दशमलव २० प्रतिशत मत प्राप्त गरेको छ । कांग्रेसका सबै उम्मेदवारले प्राप्त गरेको कुल मत प्रतिशत ४१ दशमलव १६ हो । उपनिर्वाचनमा २ लाख ९४ हजार १७ मत सदर भएको थियो । त्यसमा नेकपाले १ लाख २७ हजार ३८, कांग्रेसले १ लाख २१ हजार १८ र राष्ट्रिय जनमोर्चाले ११ हजार ७ सय ३९ मत ल्याएका छन् । उपनिर्वाचनको ५२ वटै स्थानमा नेकपा–जनमोर्चाले प्राप्त गरेको मत र कांग्रेसको मत अन्तर १७ हजार ७ सय ५९ छ । नेकपा र कांग्रेसबीचको मत अन्तर ६ हजार २० छ । नेकपाले ४३ दशमलव २०, कांग्रेसले ४१ दशमलव १६ र जनमोर्चाले ३ दशमलव ९९ प्रतिशत मत ल्याएका छन् ।
०७४ मा भएको प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको दलगत मत अन्तर उपनिर्वाचनमा घटेको देखिन्छ । त्यतिबेला प्रत्यक्षतर्फ तत्कालीन एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले ५१ दशमलव ४८ प्रतिशत मत प्राप्त गर्दा कांग्रेसले प्राप्त गरेको मत ३५ दशमलव ७४ प्रतिशत थियो । समानुपातिकतर्फ वाम गठबन्धनको कुल मत ४७ दशमलव ५४ प्रतिशत र कांग्रेसको ३२ दशमलव ७७ प्रतिशत थियो । प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तहतर्फ नगरप्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ पदका लागि उपनिर्वाचन भएको हो । नेकपाले यसअघि जितेका प्रदेशसभाको भक्तपुर १(१) र धरान उपमहानगरपालिकाको प्रमुख पद यसपटक गुमाएको छ । ती दुवै पद कांग्रेसले जितेको छ । यसअघि कांग्रेसले जितेका पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद यसपटक नेकपाले हात पारेको छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको एक सिटमा नेकपाले ५४ दशमलव २७ प्रतिशत मत ल्याउँदा कांग्रेसले ३५ दशमलव ५८ प्रतिशत ल्याएको छ । प्रदेशसभामा कांग्रेसले ४३, नेकपाले ३६ दशमलव ५६ र जनमोर्चाले ११ दशमलव ५७ प्रतिशत मत प्राप्त गरेका छन् ।
स्थानीय तहमा १ लाख ५२ हजार ४ सदर मतमध्ये नेकपाले ४४ दशमलव १८ प्रतिशत मत ल्याउँदा कांग्रेसले ४१ दशमलव ६२ प्रतिशत मत प्राप्त गरेको छ । नेकपाले ६७ हजार १ सय ५२ र कांग्रेसले प्राप्त गरेको मत संख्या ६३ हजार २ सय ५८ छ । स्थानीय तहमा दुई दलबीचको मत अन्तर ३ हजार ८ सय ९४ मात्रै छ । स्थानीय तहमा जनमोर्चाले ५ सय ४ मत ल्याएको छ । समाजवादी पार्टीले तीनवटै तहमा उम्मेदवारी दिएकामा उसले ३ दशमलव ४६ प्रतिशत मत प्राप्त गरेको छ । स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको राजपाले ४ दशमलव ०५ प्रतिशत मत ल्याएको छ । स्थानीय तहमा समाजवादीले प्राप्त गरेको मत राजपाको भन्दा थोरै बढी ५ दशमलव ११ प्रतिशत हो । ०७४ को चुनावमा प्रत्यक्षतर्फ समाजवादीले ५ दशमलव २५ र राजपाले ४ दशमलव ५६ प्रतिशत प्राप्त गरेका थिए ।

समाचार

कांग्रेसमा मतभेद

- कुलचन्द्र न्यौपाने

(काठमाडौं) - कांग्रेसमा उपनिर्वाचनको परिणामलाई लिएर संस्थापन र संस्थापन इतरपक्षबीच मत बाझिएको छ । संस्थापन पक्षले निर्वाचन परिणामलाई सकारात्मक रूपमा लिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सरकारको अलोकप्रियताको फाइदा लिन नसकिएको बताएका छन् ।
संस्थान इतरपक्षले सरकारप्रतिको वितृष्णालाई मतमा परिणत गर्न नसक्नुमा पार्टी नेतृत्वको कार्यशैलीलाई दोषी देखाएको छ । पार्टीको सांगठनिक गतिविधि र कार्यक्रमले भन्दा सरकारप्रतिको असन्तुष्टिका कारण धरान, भक्तपुर र चितवनमा कांग्रेसको मत बढेको उनीहरूको तर्क छ । संस्थापन पक्ष यो तर्कसँग सहमत छैन । सभापति शेरबहादुर देउवा र उनीपक्षीय नेताहरूले कांग्रेसका पक्षमा जनमत आकर्षित हुन थालेको टिप्पणी गरेका छन् ।
पौडेलले उपनिर्वाचनको मतपरिणाम विशेष उत्साहजनक नभएको बताए । ‘सरकारको अलोकप्रियताको फाइदा हामीले लिन सकेनौं,’ उनले कान्तिपुरसँग भने, ‘यसबारे पार्टी बैठकमा पनि समीक्षा हुनेछ ।’ पार्टीका आन्तरिक मुद्दा र उपनिर्वाचनको समीक्षाका लागि सभापति देउवाले मंसिर २६ मा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । पौडेलले उक्त बैठकमै निर्वाचनको विस्तृत समीक्षा हुने बताए । उनले भने, ‘नेकपाको तलसम्मको पार्टी संगठनले काम गरेको देखियो ।’
पार्टी उपसभापति विमलेन्द्र निधिले भक्तपुर, चितवन र धरानको मतपरिणामलाई महत्त्वपूर्ण रूपमा लिनुपर्ने बताए । ‘यो मतपरिणामले आमकांग्रेसमा उत्साह छाएको छ,’ उनले भने, ‘कांग्रेसले विगतमा जितेका कतिपय ठाउँ गुमाउनुपरेको छ तर समग्रमा परिणाम सकारात्मक छ ।’ मंसिर १६ गते पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश २ को रौतहट, सुदूरपश्चिमको बैतडी, प्रदेश ५ को अर्घाखाँची, प्रदेश ३ को चितवन र प्रदेश १ को धरान तथा उपत्यकाको भक्तपुरको परिणामले कांग्रेस उत्साही भएको बताएका थिए । उनले विगतमा जितेको एक गाउँपालिकाको अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएकामा सांगठिनक कमजोरी औंल्याए पनि नेतृत्वको कार्यशैलीप्रति लक्षित गरेका छैनन् ।
कांग्रेस नेता रामशरण महत अहिलेको नतिजाबाट सन्तुष्ट हुने ठाउँ नभएको बताउँछन् । ‘हामीले योभन्दा राम्रो नतिजा आउला भन्ने सोचेका थियौं,’ उनले भने । महतले यसमा पार्टी नेतृत्वकै समस्यालाई कारण मानेका छन् । कांग्रेसले कास्की–२ को निर्वाचनलाई मुख्य रूपमा लिएको थियो तर त्यहाँ कसलाई उम्मेदवार बनाउने भन्नेमै विवाद भयो । सहमतिमा उम्मेदवार चयन हुन नसकेपछि पौडेल र सिटौला पक्षले हार र जितको जिम्मेवारी लिनुपर्ने भन्दै उम्मेदवार चयनको जिम्मा सभापति देउवालाई दिएका थिए । देउवाले आफूनिकट पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएका थिए । नेकपाले रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनायो । भट्टराईलाई सहानुभूतिको मत मात्रै नभएर कांग्रेसको समेत मत परेको विश्लेषण हुन थालेको छ ।
केन्द्रीय सदस्य प्रदीप पौडेल पार्टीको सांगठनिक प्रभावले भन्दा सरकारप्रति वितृष्णाको मत कांग्रेसमा परेको बताउँछन् । ‘उपनिर्वाचन आन्दोलनको रूपमा उठ्नुपर्थ्यो, उनले भने ।

समाचार

किर्ते आरोपमा नेकपा नेताविरुद्ध पक्राउ पुर्जी

- कान्तिपुर संवाददाता

(बिर्तामोड) - सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा जिल्ला अदालत झापाले नेकपाका स्थानीय नेता गगन पुरीलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ । अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेपछि उनको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पुरीले दमक नगरपालिका ८ स्थित सरकारी जमिन मालपोत र नापीका कर्मचारीसँग मिलेर व्यक्तिका नाममा पार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले ११ बिघा सरकारी जमिनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाका सामान्य व्यक्तिका नाममा पास गराएर हत्याउन खोजेको डीएसपी महेन्द्रकुमार श्रेष्ठले जनाए । पुरीले उक्त सरकारी जग्गा पास गरिदिन लागेका पथरीका ओमप्रकाश पौडेललाई मंसिर १६ गते पक्राउ गरेको छ । प्रहरीका अनुसार पौडेल टेम्पो चालक हुन् ।
२ कट्ठा जमिन दिने सर्तमा पुरीले सरकारी जमिन पौडेलका नाममा पास गराउने गरी काम अघि बढाएको अनुसन्धानमा पाइएको छ । पुरीले उक्त सरकारी जमिन व्यक्तिका नाममा पास गराउने प्रक्रिया ०७१ सालमा सुरु गरेको देखिएको छ । डीएसपी श्रेष्ठले सरकारी जमिन व्यक्तिका नाममा पास गराउने कार्यमा संलग्न मालपोत र नापीका कर्मचारी तथा सर्जमिन गर्ने व्यक्तिहरूबारे पनि अनुसन्धान भइरहेको जानकारी दिए ।
पुरी पूर्वएकीकृत माओवादी केन्द्रका नेता हुन् । स्थानीय तहको निर्वाचनमा उनी दमक नगरपालिकाको मेयर पदको उम्मेदवार बनेका थिए ।
पुरी दमकदेखि पाँचथरसम्म जोड्ने दमक–रवि सडक निर्माण उपभोक्ता समितिका निर्वाचित अध्यक्षसमेत हुन् ।

समाचार

'नेपालको प्राथमिकतामा सहयोग'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– रक्षा तथा इन्डो–प्यासिफिक मामिलासम्बद्ध अमेरिकी सहायक विदेशमन्त्री रेन्डल स्क्राइभरले नेपालको प्राथमिकता र आवश्यकताअनुसार इन्डो–प्यासिफिक रणनीति अन्तर्गतको सहयोग उपलब्ध हुने बताएका छन् । अमेरिकी दूतावासले श्ाुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘लोकतन्त्र, मानवअधिकार र सुशासनका पक्षमा सम्बद्ध मुलुकको प्राथमिकताका आधारमा इन्डो–प्यासिफिक सहयोग निर्धारित हुन्छ ।’
सहायक मन्त्री स्क्राइभरले इन्डो–प्यासिफिक रणनीतिलाई लिएर नेपालमा भइरहेको बहसबारे जानकार नरहे पनि यस्ता बहस स्वागतयोग्य हुने बताए । उनले अमेरिकी स्टेट पार्टनरसिप प्रोगामअन्तर्गत सैन्य सहकार्य गर्ने अमेरिकी नीतिबारे जानकारी गराएका थिए । अमेरिकाले २ सैन्य ट्रक नेपाललाई दिने निर्णय गरेको उनले जानकारी दिए । स्क्राइभरले उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतसँग भेटवार्ता गरेका थिए ।

समाचार

राष्ट्रवाद कालापानीमा लम्पसार : देउवा

- कान्तिपुर संवाददाता

नवलपरासी (कास)– कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार परेको टिप्पणी गरेका छन् । उनले कम्युनिस्टहरू बाहिर मात्र राष्ट्रवादी देखिने गरेको बताए ।
प्रेस युनियन पूर्वी नवलपरासीले कावासोतीमा आयोजना गरेको सूर्यभक्त–पतानादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा देउवाले सबै प्रमाण हुँदा पनि अन्तर्राष्ट्रिय जगत्लाई कालापानी र लिपुलेक नेपालको भू–भाग हो भनेर बुझाउन नसक्नु सरकारको कमजोरी रहेको बताए । यो वर्षको सूर्यभक्त–पतानादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ ।

समाचार

कर्मचारीबाटै असहयोग : दाहाल

- कान्तिपुर संवाददाता

धनगढी (कास)– नेकपा अध्यक्ष पुष्पकमल दाहालले व्यवस्था फेरिए पनि कर्मचारीतन्त्र पुरानै अवस्थामा रहेकाले संघीय व्यवस्थामा चुनौती देखापरेको बताएका छन् । धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा शुक्रबार उनले कर्मचारीतन्त्र फेरबेदल गर्न नसक्नु कमजोरी भएको बताए । ‘खटाएको ठाउँमा जान नमान्ने कर्मचारीकै कारण संघीयता कार्यान्वयनमा जटिलता थपिएको छ,’ उनले भने, ‘कर्मचारीतन्त्रलाई परिवर्तन गर्न नसक्दा हात्ती छिर्‍यो पुच्छर अडयो भनेजस्तो भएको छ ।’ नेकपा अध्यक्ष दाहालले विभिन्न बहाना बनाएर कर्मचारीले कामै अगाडि बढ्न नदिने गरेको बताए । कर्मचारीले विभिन्न बहाना बनाएर नेताको ‘दिमाग खराब’ गर्ने गरेको उनको टिप्पणी थियो ।

Page 11
अर्थ वाणिज्य

जन्मिएको ३५ दिनभित्र बैंक खाता

खाता खोलिदिन नगरपालिकाको सर्त– नगरमा रहेका बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा बच्चा जन्माउनुपर्ने 
- हरिराम उप्रेती

(गोरखा) - आरोग्यमणि विश्वकर्मा जन्मेको चार महिना पुग्दै छ । पालुङटार नगरपालिका–४ गाईखुरस्थित कालमाटाका उनको बुधबार बैंक खाता खुल्यो । आमा विनीता र उनको नाउँको संयुक्त खातामा पालुङटार नगरपालिकाले १ हजार रुपैयाँ जम्मा गरिदिएको छ । ‘खाता खोल्दा १ रुपैयाँ पनि खर्च भएन,’ विनीता भन्छिन्, ‘साउन २१ मा जन्मिएको बाबुको यति चाँडो बैंक खाता खुल्यो, अब उसको नाउँमा केही रकम जम्मा गरिदिन सजिलो हुनेभो ।’ उच्च शिक्षा अध्ययनका लागि बच्चाको नाउँमा रकम जम्मा गरिदिने विनीताको सोच छ । ‘१६ वर्षसम्म झिक्न पनि नपाइँदो रहेछ,’
उनले भनिन्, ‘अहिले दुईचार पैसा जम्मा गरिदिन सके पछि पढ्ने बेला खर्च जुटाउन सास्ती नहोला ।’
आरोग्यको मात्र होइन, पालुङटार नगरमा जन्मिएका बच्चाको ३५ दिनभित्रै बैंक खाता खोल्न थालिएको छ । पाँचौं नगरसभाबाट पारित गराएर ०७६ साउन १ देखि जन्मने बच्चाको निःशुल्क बैंक खाता खोल्ने कार्यक्रम सुरु गरेको नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी दीपेन्द्र गिरीले बताए । ‘जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गरिन्छ, त्यही समयमा बैंक खाता पनि खोल्न भनेका छौं,’ उनले भने । खाता खोलेसँगै नगरपालिकाले १ हजार रुपैयाँ जम्मा गरिदिन्छ । तर बैंक खाता खोल्न नगरपालिकाको सर्त छ– नगरपालिकाभित्रको बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा बच्चा जन्माउनुपर्ने । नगरपालिकाभरि सात वटा बर्थिङ सेन्टर छन् । ‘बैंक खाता खोल्न खोप कार्ड र स्वास्थ्य संस्थाले दिएको बर्थिङ कार्ड अनिवार्य गरेका छौं,’ गिरीले भने, ‘घरमै प्रसूति गराउँदा जोखिम हुन्छ ।’ नगरपालिकाको स्वास्थ्य शाखाले घरमै हुने प्रसूतिलाई शून्यमा झार्ने अभियानअन्तर्गत यस्तो व्यवस्था अघि ल्याएको हो । जन्मदर्ता, बर्थिङ कार्ड भएपछि वडा र नगरपालिकाको सिफारिसमा शिशु र जन्म दिने आमा वा बाबुमध्ये एक जनाको नाउँमा खाता खुल्ने गिरीले बताए । ‘पालुङटार नगरमा जन्मिएका सबै बच्चाको खाता खुलोस् भन्ने धारणा हो,’ उनले भने, ‘दसैं, तिहार वा मुख्य चाडबाडमा बच्चाले टीका लगाएर केही पैसा पाउँछन्, त्यो पैसा बैंकमै जम्मा गर्न उत्प्रेरणा जागोस् भन्ने अपेक्षा हो ।’
केही वर्षअघिसम्म बच्चाहरूले खुत्रुकेमा पैसा जम्मा गर्ने प्रचलन ग्रामीण भेगमा नौलो थिएन । पछिल्लो समय बैंकमा खाता खोल्न नगरपालिकाले सहयोग गर्ने भएपछि नगरवासी पनि खुसी छन् । बैंकमा जम्मा गरेको रकमको ६.५ प्रतिशत ब्याज पनि पाइने भएकाले यसतर्फ आकर्षण बढेको नगरपालिकाले बताएको छ । ‘खाता खोल्न प्रत्येक वडामा महिनाको एक पटक बैंकका कर्मचारी जाने भन्ने भएको छ,’ गिरीले भने, ‘घरआँगनमै यसरी खाता खोल्दा यो कार्यक्रम कार्यान्वयनमा सजिलो हुने अपेक्षा राखेका छौं ।’ बच्चाहरूको बैंक खाता खोल्न चालु आवमा मात्र नगरपालिकाले १० लाख रुपैयाँ छुट्याएको नगरप्रमुख दीपकबाबु कँडेलले बताए । ‘सबै जनता बैंकिङ सिस्टममा जाउन्, बचत गर्ने बानीको विकास होस् भन्ने अपेक्षा हो,’ उनले भने । ‘बचत र आर्थिक अनुशासन सिकाउन पनि बच्चाहरूबाट बैंक खाता खोल्ने अभियान सुरु गरेका हौं,’ उनले भने, ‘ज्येष्ठ नागरिकले बैंक खाता खोलिसके, बच्चाहरूको बचत गर्ने बानी त बस्छ नै, यसले फजुल खर्च पनि नहुने भयो ।’ दुई दिनको अवधिमा १५ शिशुको बैंक खाता खुलिसकेको नगरपालिकाले जानकारी दिएको छ । यो कार्यक्रमलाई अर्को वर्ष पनि निरन्तरता दिने र चालु वर्षमा ४ सयभन्दा बढी शिशुको निःशुल्क खाता खोल्ने लक्ष्य लिइएको नगरपालिकाको भनाइ छ ।

अर्थ वाणिज्य

जनता र ग्लोबलको एकीकृत कारोबार सुरु

मर्जर अनुरोध नमाने कठिन अवस्था आउनेछ : अर्थमन्त्री
- कान्तिपुर संवाददाता
जनता र ग्लोबल आईएमई बैंकको एकीकृत कारोबार उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडा ।तस्बिर ः कान्तिपुर

(काठमाडौं) - जनता बैंक र ग्लोबल आईएमई बैंकले एकीकृत कारोबार थालेका छन् । अर्थमन्त्री युवराज खतिवडाले कमलादीस्थित ग्लोबल आईएमईको कर्पोरेट कार्यालयमा शुक्रबार एकीकृत कारोबारको उद्घाटन गरे । मर्जरपछि नेपालकै ठूलो र मजबुत बैंक बन्ने ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ग्लोबल १३ वर्ष र जनता १० वर्षअघि स्थापना भएका बैंक हुन् ।
मर्जरपछि बैंकको प्राथमिक पुँजी २४ अर्ब, कुल निक्षेप २ खर्ब १३ अर्ब, कुल कर्जा १ खर्ब ९४ अर्ब र ८ सय ४० सेवा केन्द्र हुने अध्यक्ष ढकालले बताए । देशका ७ वटै प्रदेश र ७७ वटै जिल्लामा बैंकका ३ सयभन्दा
बढी शाखा र ३ हजार २ सय ५० कर्मचारी छन् ।
२ सय ५९ एटीएम, २ सय ४३ शाखारहित बैंकिङ सेवा, ३३ वटा एक्सटेन्सन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित ८४० भन्दा बढी सेवा केन्द्रबाट सेवा दिइएको बैंकले जनाएको छ । गत आर्थिक वर्षमा दुवै बैंकले ३ अर्बभन्दा बढी राजस्वमा योगदान पुर्‍याएको जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले बताए । बैंकको ३ लाख ५० हजारभन्दा बढी पब्लिक सेयर छ । ‘मर्जपछि बैंक नेपालकै ठूलो तथा मजबुत बनेको छ,’ रायमाझीले भने, ‘ग्राहक २० लाखभन्दा बढी पुगेका छन् ।’
०७६/७७ को बजेट वक्तव्यमार्फत बैंक तथा वित्तीय संस्था गाभिन प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार दुवै बैंकले मर्जरको प्रक्रिया अघि बढाएका हुन् । यी बैंक गाभिन ०७६ असार २० गते प्रारम्भिक समझदारी भएको थियो । मर्जरका लागि बैंकलाई राष्ट्र बैंकबाट असोज ८ मा सैद्धान्तिक सहमति प्राप्त भएको थियो । मंसिर १३ मा राष्ट्र बैंकबाट मर्ज भएको अन्तिम स्वीकृति प्राप्त भएको बैंकले जानकारी दिएको छ ।
मर्जरपछि अध्यक्षमा आईएमईकै ढकाल र जनताका अध्यक्ष रायमाझी सञ्चालक समितिमा रहनेछन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने परशुराम कुँवर रहनेछन् ।
मर्जरमा जान आग्रह
एकीकृत कारोबार उद्घाटन कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थालाई मर्जमा नआए पछि कठिन अवस्था आउने चेतावनी दिएका छन् । ‘हाम्रो अनुरोध पालना नगरे भविष्यमा कठिन अवस्था आउँदा सरकार र राष्ट्र बैंकले सुन्ने दिन टाढा पुगिसक्नेछ,’ उनले भने ।

स्वैच्छिक मर्जर सबैभन्दा राम्रो उपाय रहेको र त्यसको सुरुवात भइसकेको उनले बताए । मर्ज भएर कारोबार सुरु गरेको ग्लोबल आईएमई बैंक विदेशी वित्तीय संस्थाहरूबाट बढी स्रोत परिचालन गर्न सक्ने अवस्थामा पुगेको उनको भनाइ छ । मर्ज हुनुको विकल्प नभएको र लहड एवं घमण्डले अब बैंक नचल्ने उनले बताए । ‘रहर नभएर बाध्यताले लहडमा बैंक चलाउन आएका साथीहरूलाई निस्कने यो राम्रो बाटो हो,’ उनले भने, ‘अहिलेसम्म उन्मुक्ति पाउनुभएको छ, नत्र १० वटा प्रश्न, १० मुद्दा थेग्नुपर्ने हुन्थ्यो ।’
बैंकर मात्रै समृद्ध भएर मुलुक समृद्ध नबन्ने उनले बताए । ‘कुनै बैंकमा सातौं/आठौं तहमा काम गरेको व्यक्ति अर्को बैंकको सीईओ भइहाल्नुभयो । अर्को बैंकमा झन् धेरै रकममा सीईओ हुनुभयो । मासिक ५० हजार रुपैयाँ लिइरहेको मान्छे ३ देखि ५ लाख रुपैयाँ लिने हुनुभयो,’ उनले भने, ‘१० वर्षमा दस गुणा तलब बढेर तपाईं धनी बनिहाल्नुभयो ।’ तर, मुलुक समृद्ध हुनलाई व्यवसायी, लगानीकर्ता र निक्षेपकर्ता पनि समृद्ध हुनुपर्ने उनको भनाइ छ ।
बैंकहरूको तरलतामा कमी नआओस् भनेर स्रोत उपलब्ध गराउन लागिएको खतिवडाले बताए । ‘सरकारको खर्च बढाउँदै छौं, सरकारी ट्रेजरीमा पैसा बसेर बैंकको तरलतामा कमी नआओस् भनेर स्थानीय तहको ट्रेजरीको पैसा ५० प्रतिशतसम्म बैंकमै राख्ने व्यवस्था गरेका छौं,’ उनले भने, ‘यसमा अझै पनि पुनरावलोकन गरेर बैंकहरूलाई स्रोत उपलब्ध गराउन सकिनेछ ।’
कार्यक्रममा गभर्नर चिरञ्जीवी नेपालले राष्ट्र बैंकले केही वर्षअघिदेखि लिएको नीतिअनुसार दुई बैंक गाभिएको बताए । ‘यो अन्य बैंकका लागि सन्देश पनि हो,’ अन्य बैंकलाई लक्ष्य गर्दै उनले भने, ‘त्यसैले समयमै सोचेर निर्णय लिइहाल्नुस् ।’ राष्ट्र बैंकले कुनै पनि नीति लिँदा दीर्घकालीन अवस्थालाई अध्ययन गर्ने गरेको र मर्जर नीति पनि त्यहीअनुसार आएको उनको भनाइ छ । डिजिटलाइजेसनमा बैंकहरूले अत्यन्त न्यून खर्च गर्दै आएकाले त्यसमा खर्च बढाउन उनको आग्रह छ । ‘बैंक नियमन निकायको प्रमुख भएर भन्न पनि लाज लागेको छ,’ उनले भने, ‘बैंकमा काम गर्ने कर्मचारीलाई चेक बुक कसलाई दिनुपर्छ भन्नेसमेत थाहा छैन । यो जस्तो लाजमर्दो के हुन्छ ?’
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक मर्ज हुनु खुसीको कुरा रहेको बताए । वित्तीय संस्थालाई ठूलो, बलियो र विश्वासिलो बनाउन आवश्यक रहेको उनको भनाइ छ । ‘मर्जरमार्फत ठूला र बलिया संस्था बन्न थालेपछि पूर्वाधारमा लगानी बढ्ने अपेक्षा छ,’
उनले भने, ‘त्यसैले उद्योगी व्यवसायी आशावादी छौं, बैंकले साना, मझौला र कृषि उद्यमीलाई सहज पहुँच दिओस् ।’
नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, धागो उद्योग संघका अध्यक्ष पवन गोल्यानलगायतले बैंक मर्जरमा गएकामा खुसी व्यक्त गरेका थिए ।

Page 12
अर्थ वाणिज्य

घरायसी ग्राहकबाट प्राधिकरणलाई घाटा

- कान्तिपुर संवाददाता

(काठमाडौं) - घरायसी (गार्हस्थ्य) ग्राहकलाई विद्युत् दिँदा लागतको तुलनामा करिब साढे ९ प्रतिशत घाटा भइरहेको प्राधिकरणको महसुलसम्बन्धी एक अध्ययनले देखाएको छ । यस्तो घाटा सिँचाइ, सामुदायिक यातायात र मन्दिरजस्ता ग्राहकबाट झन् बढिरहेको अध्ययनको निष्कर्ष छ ।
प्राधिकरणका गार्हस्थ्य ग्राहक ४२ प्रतिशतभन्दा बढी छन् । तिनबाट हुने आम्दानी भने कुल आम्दानीको करिब ३८ प्रतिशत मात्रै छ । तिनलाई उपलब्ध गराइएको विद्युत्दर सस्तो भएको प्रतिवेदनले औंल्याएको हो ।
आगामी वर्षदेखि आन्तरिक विद्युत् उत्पादन बढी हुने भएकाले विद्युत् खेर जाने प्राधिकरणको अनुमान छ । सोही आधारमा प्राधिकरणले उपभोक्तालाई विद्युत् खपत बढाउन भनेको छ । प्राधिकरणले घरायसी उपभोक्तालाई प्रोत्साहित गर्न विद्युत् महसुलदर घटाउने आकलन भइरहेको बेला प्रतिवेदनले भने लागतको तुलनामा घरायसी उपभोक्तालाई उपलब्ध गराइएको विद्युत्दर सस्तो देखाएको हो ।
प्राधिकरणले घरायसी उपभोक्ताका लागि छुट्टाछुट्टै दर निर्धारण गरेको छ । सुरुवाती २० युनिटसम्मका लागि घरायसी उपभोक्ताले प्रतियुनिट ३ रुपैयाँमा मात्रै महसुल तिरे पुग्छ । त्यसपछि प्रतिमहिना २०, ३०, ५०, १ सय ५०, २ सय ५०, ४ सय र त्योभन्दा बढी विद्युत् खपत् गर्ने ग्राहकका लागि छुट्टाछुट्टै सेवा शुल्क र प्रतियुनिट इनर्जी शुल्क निर्धारण गरिएको छ ।
खानेपानी परियोजनाका लागि उपलब्ध विद्युत् लागतभन्दा २६ प्रतिशत र सिँचाइ सुविधाका लागि उपयोग हुने विद्युत् महसुल लागतभन्दा ५६ प्रतिशत कम रहेको प्रतिवेदनमा औंल्याएको छ । प्राधिकरणले विद्युत् महसुलको अध्ययन र नयाँ महसुलदर प्रस्तावका लागि गठन गरेको सञ्चालक समिति सदस्य भक्तबहादुर पुन नेतृत्वको समितिले प्राधिकरणले विद्युत्को औसत महसुल २० प्रतिशतले बढाउनुपर्ने सुझाव दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने घरायसी ग्राहकका लागि शुल्क नबढ्ने बताउँछन् । विद्युत् महसुल वैज्ञानिक बनाउनुपर्ने उनको भनाइ छ ।
प्राधिकरणले खरिद गर्ने विद्युत्को औसत मूल्य करिब ८ रुपैयाँ रहेको उनले जानकारी दिए । प्राधिकरणले आफ्नो सञ्चालन खर्च, प्रशासनिक खर्च र ह्रासकट्टी गरी विद्युत् बिक्री गर्दा लागत (कस्ट अफ सेल) १० रुपैयाँ ३२ पैसा पर्न जान्छ ।
‘दक्षिण एसियाली देशको तुलनामा हाम्रो कस्ट अफ सेल प्रतिस्पर्धी नै छ,’ उनले भने, ‘औद्योगिक ग्राहकबाट उठ्ने शुल्कले अन्य ग्राहकबाट हुने घाटा सन्तुलन गर्छ ।’ प्राधिकरणलाई औद्योगिक, गैरव्यापारिक र व्यापारिक ग्राहकबाट भने नाफा छ । योमध्ये धेरै नाफा डेडिकेटेड र ट्रंक लाइनबाट महसुल तिरेका ग्राहकबाट हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्राधिकरणजस्ता निकायले पूर्वाधारमा गरेको लगानी विद्युत् बिक्रीबाट तत्काल उठाउन खोज्दा विद्युत् लागत महँगो पर्न जाने ऊर्जा मन्त्रालयका एक अधिकारी बताउँछन् । ‘पूर्वाधारमा गरेको सबै लगानी र ऋणको ब्याज विद्युत् बिक्रीबाटै उठाउन खोज्दा लागत बढी हुन्छ,’ ती अधिकारीले भने, ‘सरकारले पूर्वाधारमा भएको लगानीलाई सहुलित दिएर विद्युत् खपत बढाउने नीति लिनुपर्छ ।’
सरकारले सहुलितपूर्ण ऋण लिएर बनाएको आयोजनाभन्दा निजी क्षेत्रले महँगो ब्याजदरको ऋण लिएर आयोजना बनाउँदा उत्पादन लागत महँगो हुने ती अधिकारीको धारणा छ । लोडसेडिङका बेला उद्योगहरूलाई निरन्तर विद्युत् आपूर्तिका लागि डेढ गुणा बढी शुल्क लिएर डेडिकेटेड र ट्रंक फिडरबाट विद्युत् उपलब्ध गराइएको थियो ।

 

अर्थ वाणिज्य

निगमको आफ्नै ग्यास प्लान्ट!

सम्भाव्यता अध्ययन गर्न १३ कम्पनीको प्रस्ताव
- राजु चौधरी

(काठमाडौं) - नेपाल आयल निगमले झापा र जनकपुरमा ग्यास रिफिलिङ प्लान्ट बनाउने तयारी गरेको छ । आपूर्तिमा सहजता ल्याउन र मूल्य नियन्त्रण गर्न निगमले झापा र जनकपुरमा ३/३ हजार टन क्षमताका प्लान्ट बनाउने तयारी थालेको हो । ग्यास प्लान्टको सम्भाव्यता अध्ययन गर्न निगमले टेन्डर गरिसकेको छ ।
टेन्डरमा चीनदेखि इरानसम्मका १३ कम्पनीले प्रस्ताव पेस गरेको निगमले जानकारी दिएको छ । ‘ग्यास भण्डार निर्माण गर्ने निगम बोर्डको निर्णय हो । सम्भाव्यता अध्ययन गर्न १३ कम्पनीले इच्छा देखाएका छन् । उनीहरूले प्रस्ताव दर्ता गरिसकेका छन्,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने, ‘कम्पनीको मूल्यांकन अन्तिम चरणमा छ । एक–दुई सातामा टुंगो लाग्छ ।’ झापामा ग्यास प्लान्ट सम्भाव्यता अध्ययन गर्न ७ कम्पनीले इच्छा देखाएका छन् । ती कम्पनी भारत, चीन र इरानका छन् । जनकपुरका लागि भारत र इरानका कम्पनीले इच्छा देखाएका छन् ।
१३ मध्ये जनकपुर र झापाका लागि एक/एक कम्पनी छानिनेछ । छानिएका कम्पनीले माटो परीक्षण, वातावरणीय मूल्यांकन, फ्रन्ट इन्ड इन्जिनियरिङ डिजाइन, सजावट तयारी, आगो सुरक्षा प्रणाली, लागत खर्चलगायतबारे अध्ययन गर्नेछन् । अध्ययनको प्रतिवेदनपछि प्लान्ट निर्माण अघि बढाइने निगमले जानकारी दिएको छ ।
निगमले ०७२ सालमा पनि ग्यास भण्डारण बनाउने योजना बनााएको थियो । त्यति बेला निगमको कार्यकारी निर्देशकमा गोपाल खड्का थिए । इन्धन भण्डारण गर्न जग्गा खरिद गर्ने क्रममा अनियमिततामा परेपछि उनी निलम्बित भए । त्यसपछि ग्यास भण्डारण प्रक्रिया अघि बढेको थिएन । अहिले निगमले पुनः भण्डारण बनाउने योजना अघि बढाएको हो । ग्यास ढुवानीबाट वार्षिक साढे ४ अर्ब बाहिरिने गरेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । ‘हाम्रो उद्देश्य १० प्रतिशत बजार हस्तक्षेप गर्नु हो । यो निगमको रणनीति पनि हो,’ पौडेलले भने, ‘यसले बजारमा ग्यास पाइएन भन्ने गुनासो सम्बोधन हुन्छ ।’
मुलुकभर ५७ ग्यास प्लान्ट रहेको एलपी ग्यास उद्योग संघका उपाध्यक्ष मनोजकुमार दासले जानकारी दिए । ती प्लान्टले मासिक ४२ हजार टन ग्यास आयात गरिरहेका छन् । एलपी ग्यास भारतीय आयल निगमको कर्नाल, हल्दिया, बरौनी, मथुरा, पारादिप रिफाइनेरीबाट आयात हुन्छ । एलपी ग्यास खपत वार्षिक करिब ७ प्रतिशत बढिरहेको उपाध्यक्ष दास बताउँछन् । निगम खुद्रा व्यापारभन्दा पनि हाल भइरहेका प्लान्टलाई व्यवस्थित गर्नुपर्नेतर्फ लाग्नुपर्ने उद्योगीहरू बताउँछन् । ‘अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार सरकारले व्यापार गर्दैन । तर, निगमले किन व्यापार गर्न खोज्यो, थाहा भएन,’ दासले भने ।
निगमले भने ग्यास प्लान्ट अत्यावश्यक भएको बताएको छ । भण्डारणसँगै बुलेटबाट ग्यास लोड गर्न सक्ने प्रकारको रिफाइनेरी बनाउन खोजिएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । ‘उद्योगीसँग आयातित ग्यास खाली गर्न मिल्ने मात्रै प्रविधि छ । निगमले भने रिफाइनेरीबाट लोड पनि गर्न मिल्ने किसिमको प्लान्ट बनाउने खोजेको छ,’ उनले भने, ‘उद्योगीले पनि निगमको भण्डारणबाट ग्यास लोड गर्न सक्छन् । बल्क डिपोबाट पनि ढुवानी गर्न सक्छन् ।’ निगमको प्लान्ट हुँदा बन्दहडतालका बेला सजिलो हुने निगमको दाबी छ ।
निगमसँग पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धन भण्डारण भए पनि ग्यासको छैन । निगमले ग्यासको प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) को चिठी दिएपछि ग्यास उद्योगीहरूले आयात गरी रिफिलिङ गरेर बेच्दै आएका छन् । ग्यास उद्योगीबाहेक सरकारसँग ग्यास भण्डारण छैन । यसले अप्ठ्यारो समयमा उपभोक्तालाई धेरै राहत हुने भट्टराईको दाबी छ ।
संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले पनि निगमले प्लान्टमा लगानी गर्नु अनावश्यक भएको बताए । ‘विश्व नै वातावरण सुधार गर्न भन्दै विद्युतीय रेल, इलेक्ट्रिक कार आदि निर्माणतर्फ लागेको छ । पेट्रोलियम क्षेत्र नै बन्द हुन सक्ने अवस्थामा निगम भने अर्बौं रुपैयाँको आयोजना निर्माणतर्फ जानु गलत हो,’ घिमिरेले भने ।
र्निगमले ग्यास भण्डारसँगै आफ्नै ब्रान्डको सिलिन्डरसमेत ल्याउने योजना बनाएको छ । प्रत्येक ग्यास उद्योगको सिलिन्डरको मूल्य फरक छ । निगमको आफ्नै सिलिन्डर भए मूल्यमा पनि एकरूपता हुने भट्टराईले बताए । ‘अहिले एउटा कम्पनीको सिलिन्डर अर्को कम्पनीसँग साट्दा थप पैसा तिर्नुपर्ने बाध्यता छ । निगमको सिलिन्डर भए मूल्यमा पनि एकरूपता हुन्छ,’ उनले भने, ‘उपभोक्ताले कम्पनी छनोट गर्न सक्छन् । प्रतिस्पर्धा हुँदा उपभोक्तालाई नै फाइदा पुग्छ ।’

अर्थ वाणिज्य

पर्यटकमैत्री भएन खुम्बु क्षेत्र

- कान्तिपुर संवाददाता
सगरमाथा आधार शिविर जाने बाटोमा पर्ने दिङबोचे । यहाँ दुई दर्जनभन्दा बढी होटल छन् । तस्बिर ः कुम्भराज/कान्तिपुर

(ओखलढुंगा) - विभिन्न संस्थाको सूचीमा संसारकै उत्कृष्ट र घुम्नैपर्ने गन्तव्यहरूको सूचीमा खुम्बु क्षेत्र परिरहन्छ । सगरमाथा पनि खुम्बुक्षेत्रमै भएकाले यो उत्कृष्ट गन्तव्यमा पर्नु नौलो विषय होइन । तर, संसारभरका पर्यटकको रोजाइमा पर्ने यो क्षेत्रमा सोचेजस्तो पर्यटक आएका छैनन् ।
सन् २०१४ को हिमपहिरोमा सगरमाथामा १६ जना शेर्पाले ज्यान गुमाए । त्यो वर्ष सगरमाथा आरोहण रोकियो । त्यही हल्लाका कारण पदयात्रामा आउने विदेशी पर्यटकको संख्यामा असर पर्‍यो । हिमपहिरोपछि बिस्तारै लयमा फर्किएको पर्यटन व्यवसाय २०१६ को भूकम्पपछि फेरि धर्मरायो । त्यसको करिब १ वर्षपछि भने खुम्बुमा पर्यटक बढे । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्‍यो । पर्यटन वर्ष नजिकिँदै गर्दा पर्यटक बढ्ने आशामा खुम्बुका होटल व्यवसायी थिए । तर, यो वर्षको पर्यटकीय सिजनको तथ्यांक निराशाजनक छ । नोभेम्बर र डिसेम्बरमा आउने पर्यटक गत वर्ष जति पनि पुग्ने देखिँदैन ।
ट्रेकिङ एजेन्सिज अफ एसोसिएसन नेपाल (टान) मार्फत सरकारले पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) को शुल्क उठाउँछ । स्थानीय तहको निर्वाचनलगत्तै जनप्रतिनिधिले निर्णय गरेर उक्त शुल्कमा प्रतिबन्ध लगाए । स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ लाई आफ्नै ढंगबाट व्याख्या गर्दै गाउँपालिकाले प्रतिपर्यटक २ हजारको दरले शुल्क असुल्न थाल्यो । टिम्स पर्यटकले बुझाउनैपर्छ, पर्यटकबाट गाउँपालिकाले शुल्क उठाउन छाडेन ।
संघीय सरकारदेखि स्थानीय तह र राष्ट्रिय निकुञ्जसम्ममा लिइने यस्ता दोहोरो शुल्कका कारण पर्यटकमा नराम्रो छाप परेको खुम्बुकै पर्यटन व्यवसायी बताउँछन् । ‘सीमित खर्च लिएर आउने पर्यटकलाई यहाँ ठाउँठाउँमा बुझाउनुपर्ने यस्ता शुल्कले सकस पर्छ,’ पर्यटक गाइड दोर्जी शेर्पाले भने, ‘आफूखुसी असुल गरिने यस्ता शुल्क खारेज नभएसम्म खुम्बुमा पर्यटक ल्याउन गाह्रो छ ।’ आनन्दले घुम्न आउने पर्यटक धेरै ठाउँमा बिनाकारण शुल्क बुझाउनुपर्दा दिग्दार छन् । गाउँपालिकाले लिने शुल्क हटाउन पर्यटन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अदालतसम्मले निर्देशन दिँदासमेत रोकिएको छैन । यसले गर्दा खुम्बुको बद्नामी भएको सरोकारवाला बताउँछन् । पर्यटकबाट एकैदिनमा २५ लाख रुपैयाँभन्दा बढी असुली गरे पनि गाउँपालिकाले पदमार्ग सुधार र पर्यटकीय पूर्वाधारका योजनामा लगानी गरेको छैन ।
गत वर्ष खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रभित्र पर्यटकसँग कोठाभाडाबापत भन्दै अवैध रकम असुल्ने काम भयो । हरेक विदेशी पर्यटकबाट ५ सयका दरले अवैध असुली गरेको समाचारले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्राथमिकता पायो । खुम्बु होटल एसोसिएसनको नाममा रसिद काट्दै अवैध असुली गर्न थालिए पनि यसलाई रोक्न जिल्ला प्रशासनलाई दुई महिनाभन्दा बढी लाग्यो । आधिकारिक रूपमा दर्ता नभएको संस्था खुम्बु होटल एसोसिएसनले प्रशासन र स्थानीय तहको अनुमतिबिना रकम असुली गरे पनि उनीहरूमाथि कुनै कारबाही भएन । उनीहरूले नाम्चेभन्दा माथि बाटोबाटोमा बुथ बनाएर पैसा उठाएका थिए । हाल होटलवालाले होटलमै शुल्क लिन्छन् ।
लुक्ला विमानस्थलको सास्ती
खुम्बु घुम्न भनेर काठमाडौं ओर्लिएका पर्यटक अन्यत्र गन्तव्य बनाएर मोडिनुको एउटा कारणमध्येको हो, लुक्ला विमानस्थल । बिग्रिरहने मौसमको कारण पटकपटक उडान रद्द हुनु र कतिपय पर्यटकको भिसा सकिने बेलासम्म लुक्लामै रोकिनु यसका कारण हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले संसारकै खतरनाक विमानस्थलको सूचीमा लुक्लाको तेन्जिङ हिलारी विमानस्थललाई राखेका छन् । त्यस्ता खबर पढेका कतिपय विदेशी पर्यटक चाहेर पनि खुम्बु क्षेत्र घुम्न जान डराउँछन् ।
गत वर्षदेखि झन् लुक्ला जानका लागि रामेछापको मन्थलीबाट उडान राखेपछि पर्यटकले झन्झट मान्ने गरेका छन् । पर्यटकीय सिजनामा ६५–७० फ्लाइटसम्म उडान भर्ने लुक्ला देशकै सबैभन्दा बढी व्यस्त आन्तरिक विमानस्थल हो ।
लुक्लामा पाइने सास्तीको कारण धेरैले यसको विकल्प खोज्नुपर्ने तर्क गर्छन् । लुक्ला विमानस्थलमा हुने दुर्घटनाहरू प्राविधिक कारणले हुने खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाको भनाइ छ । तर, प्राविधिक कारणबाट हुने दुर्घटनालाई लिएर विमानस्थल खतरा भएको सन्देश फैलाउनु गलत भएको उनी बताउँछन् ।
खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रै रहेको स्याङ्बोचे विमानस्थल वर्षौंदेखि बन्द छ । नागरिक उड्डयन प्राधिकरणले स्याङबोचे विमानस्थलको स्तरोन्नति र क्षेत्र विस्तार गर्न खोज्दा सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा परेकोलगायतका कारण देखाउँदै बन्द गरेको हो । यसको आन्तरिक कारण भने नाम्चेका केही स्थानीयले स्याङबोचे विमानस्थल सञ्चालन हुन नदिनु हो । स्याङबोचेमा सिधै पर्यटक ओर्लिने र फर्कने गर्दा नाम्चेको व्यापार घटेको भन्दै उनीहरूले विरोध गरेका थिए । स्याङबोचे विमानस्थल पुनः सुरु गर्न सक्ने हो भने पर्यटक संख्या थप्न टेवा पुग्ने स्थानीयको भनाइ छ । लुक्लासम्म सडक लैजाने भनेर सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखि बाटो खन्न थालिएको ६ वर्ष बितिसकेको छ । खुम्बु क्षेत्रमा हराएका पर्यटकको यकिन तथ्यांक प्रहरीसँग छैन ।

अर्थ वाणिज्य

एनसेलले दियो सिगुलाई २ लाख

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– दूरसञ्चार सेवाप्रदायक एनसेलले ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत पहिलो साताका विजेता चित्रकुमार सिगुलाई बिहीबार २ लाख रुपैयाँ पुरस्कार दिएको छ । पाँचथरका सिगु योजनाको साताको पाँचौं विजेतामध्येका एक हुन् । ग्राहकले १ सय रुपैयाँ वा त्योभन्दा बढी ब्यालेन्स रिचार्ज गर्दा कोडका आधारमा विजेता घोषणा गरिन्छ । 

अर्थ वाणिज्य

'यामाहा महाएक्सचेन्ज मेला' सुरु

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– भृकुटीमण्डपमा यामाहाको महाएक्सचेन्ज मेला सुरु भएको छ । मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले मोटरसाइकलका पारखीलाई ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै मेला आयोजना गरेको हो । बुधबार सुरु भएको मेला आइतबारसम्म जारी रहनेछ । मेलामा ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो मोटरसाइकल तथा स्कुटरको प्रचलित बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ बढी पाउने कम्पनीले जानकारी दिएको छ ।

अर्थ वाणिज्य

सकियो ड्रपा वर्ल्ड टुर इन नेपाल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल–जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (एनजीसीसीआई) ले ‘ड्रपा वर्ल्ड टुर इन नेपाल’ कार्यक्रम सम्पन्न गरेको छ । दक्षिण अमेरिकामा सेप्टेम्बरमा १० वटा गन्तव्यबाट सुरु भएको विश्व भ्रमण नेपालमा आइपुग्नुमा आयोजकले खुसी व्यक्त गरेको छ । काठमाडौंको कार्यक्रमपछि भ्रमण जापान, दक्षिण कोरियालगायत एसियाका गन्तव्यमा जारी जारी रहनेछ । 

अर्थ वाणिज्य

विद्यालयलाई एभरेस्टको भ्यान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ललितपुर धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी नेपाल (एसजीसीपी) लाई स्कुल भ्यान सहयोग गरेको छ । संस्थाले एसजीसीपी सेरेब्रल पाल्सी (मस्तिष्क पक्षाघात) भएका बालबालिका, युवा र तिनका अभिभावकलाई सहयोग गरिरहेको बताएको छ । 

अर्थ वाणिज्य

बेलायतमा नेपाली व्यवसाय

- कान्तिपुर संवाददाता

लन्डन (कास)– लन्डनको पटनीमा नेपालका व्यवसायी कुल आचार्यले होली काउ समूहको नवौं रेस्टुराँ खोलेका छन् । बीबीसीका पूर्वकार्यक्रम प्रस्तोता तथा सेलिब्रिटी सेफ एन्सले हयारियटले रेस्टुराँ उद्घाटन गरे । उनले लन्डनमा नेपाली व्यवसाय बढेकामा खुसी व्यक्त गरे । होली काउ समूहका निर्देशक आचार्यले २० वर्षअघि बेलायत आएपछि किचन पोर्टर, तन्दुरी सेफ, सेफ हुँदै २००६ मा ‘होली काउ’ नामक पहिलो टेक अवे सञ्चालनमा ल्याएका हुन् ।

अर्थ वाणिज्य

कामनाको १०५औं शाखा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कामना सेवा विकास बैंकले काठमाडौंको मनमैजुमा १०५औं शाखा सञ्चालनमा ल्याएको छ । मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहोरा तथा बैंकका अध्यक्ष सुदीप आचार्यले शुक्रबार शाखाको उद्घाटन गरे । बैंकको सेवालाई सर्वसाधरणमाझ पुर्‍याउन शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

Page 13
समाचार

भन्न सजिलो, तोड्न गाह्रो

अछाममा ३३ हजार, बझाङमा २५ हजार र डोटीमा चार हजारभन्दा बढी छाउगोठ छन् । जनप्रतिनिधि र अभियन्ताले नै छाउपडी बार्ने गरेकाले यो कुप्रथाविरूद्धको जागरण अभियान फितलो छ ।
- वसन्तप्रताप सिंह,मेनुका ढुंगाना,मोहन शाही
अछामको मंगलसेन–३ स्थित एक छाउगोठमा शिशुसहित महिला ।तस्बिर ः मेनुका/कान्तिपुर

(बझाङ/अछाम/डोटी) - कु प्रथा हटाउन अघि लाग्नुपर्ने मुख्य दायित्व बोकेका जनप्रतिनिधि र अधिकारकर्मीहरू स्वयंले छाउ बार्ने गरेको हाकाहाकी सुनाउँछन् । बझाङबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद आशा बिक महिनावारी भएका बेला घरभित्रै बस्छिन् तर भान्सा र धारा छुने छुट उनलाई छैन । महिनावारी भएका बेला घरभित्र बस्न पनि उनले थुप्रै संघर्ष गर्नुपर्‍यो । ‘सासूससुराले मान्दै मान्नुभएन । छाउ भएका बेला घर छोएर हाम्रो घर बिगारिस् भनेर धेरै गाली खाएँ,’ उनले भनिन्, ‘निकै सम्झाएपछि आफ्नो कोठामा सुत्नसम्म थालेकी छु ।’
स्थानीय तहका धेरैजसो महिला जनप्रतिनिधिले त हालसम्म बिककै जस्तो घरभित्र बस्ने आँटसमेत गर्न सकेका छैनन् । परिवारका बुढापाकाले मान्ने छुवाछूतका कारण आफूहरूले यो अन्धविश्वास तोड्न नसकेको उनीहरू बताउँछन् । कतिपय त छाउप्रथालाई धार्मिक परम्परासँग जोडेर बार्नेहरू पनि छन् ।
‘मर्ने बेला भएका बूढाबूढीको चित्त के दुखाउनुजस्तो लाग्छ । त्यही भएर छाउगोठमै बस्ने गरेकी छु,’ बझाङको थलारा गाउँकार्यपालिका सदस्य निर्मला विष्ट भन्छिन्, ‘उहाँहरू (सासूससुरा) को शेषपछि त हाम्रो घरमा यो प्रथा रहँदैन होला ।’ महिनावारी नबारेको थाहा पाए बूढाबूढीहरू बिरामी हुने अन्धविश्वासले पनि बाध्य भएर बार्नुपरेको उनले बताइन् । जनप्रतिनिधि मात्र हैन, छाउप्रथा अन्त्यका लागि लामो समयदेखि पैरवी गर्दै आएका महिलाको नेतृत्वदायी संस्था महिला अधिकार मञ्चका अध्यक्ष जयन्ती जोशी पनि छाउ बार्छिन् । आफ्नै कोठामा सुते पनि भान्छासम्म पस्न आँट नगरेको उनले बताइन् । ‘महिनावारी भएका बेला बरु होटलमा खाना खाने गरेका छौं,’ उनले भनिन्, ‘लामो समयदेखि मान्दै आएको विश्वास एक्कासि तोड्न गाह्रो हुँदो रहेछ ।’
उनी मात्र होइन, छाउप्रथा अन्त्यको अभियान सञ्चालन गरेर हिँडिरहेका महिला जनप्रतिनिधि र अधिकारकर्मीहरूले समेत कुनै न कुनै रूपमा छाउ बार्ने गरेको पाइएको छ । परिवार र समाजको अगाडि केही सीप नचलेपछि छाउप्रथा बार्न बाध्य हुनुपरेको उनीहरूको भनाइ छ । ‘विद्रोह गर्न त मन लाग्छ तर यही विषयले घरमा झगडा हुन्छ । अरूको मन राख्न पनि बार्ने गरेकी छु,’ अधिकारकर्मी एवं शिक्षक सुशीला खड्का भन्छिन्, ‘मलाई लाग्छ सायद अरूको पनि यस्तै खालको केही बाध्यता होला ।’ पछिल्लो पुस्ताका महिलामा छाउप्रथाप्रति हेर्ने दृष्टिकोण खुकुलो हुँदै गएको उनले बताइन् ।
योजनाविहीन स्थानीय तह
अछाममा पछिल्लो १० वर्षमा प्रहरीको जानकारीमा आएअनुसार १४ जना किशोरी तथा महिलाले छाउगोठमै मृत्यु भयो । बाजुरामा पोहोर दुई बच्चासहित आमाको मृत्यु भयो । अछामका १० वटा स्थानीय तहका ९१ वडामा छाउप्रथा कायमै रहँदा पनि यहाँका स्थानीय तहले थाहा नपाएका पनि होइनन् । कुप्रथाविरुद्ध चेतनामूलक कार्यक्रम गर्ने भन्दै बजेट छुट्याए पनि ठोस योजना भने बनाएका छैनन् । सबैले महिलाका क्षेत्रमा छुट्याएको बजेट, तालिम, बैठक, गोष्ठी र अन्तरक्रिया आदिमा सक्ने गरेका छन् ।
‘छाउप्रथा हटाउन अहिलेसम्म कुनै ठोस अभियान छैन,’ चौरपाटी गाउँपालिकाका उपाध्यक्ष माया कुँवरले भनिन्, ‘महिलाका क्षेत्रमा हाम्रो २० लाख बजेट छ । विभिन्न दिवस, सभासमारोह, तालिम र गोष्ठीमा खर्च भइरहेको छ ।’ गाउँपालिकाका सातवटै वडाका महिला र किशोरी छाउप्रथाका कारण पीडित रहेको उनले बताइन् । कमलबजारका नगरप्रमुख ओमप्रकाश विष्टले नगरका १० वटै वडामा छाउगोठ रहेको र महिला तथा किशोरी छाउगोठमै बस्ने गरेको बताए । ‘छाउप्रथा हटाउने विषय छलफलमा उठेकै हुन्छ,’ उनले भने, ‘हट्न चाहिं सकेको छैन ।’ यकिन तथ्यांक नभए पनि गाउँको जनसंख्याको आधाजसो छाउगोठ भएको अछामका जनप्रतिनिधिहरू स्विकार्छन् ।
ढकारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी साउँदका अनुसार यो वर्ष महिलाका क्षेत्रमा काम गर्न १२ लाख बजेट छ । ‘महिला तथा बालबालिका शाखामा कर्मचारी छैनन् । त्यसैले गाउँपालिकाले कार्यक्रमको योजना तयार पारेको छैन । छाउ बार्न अझै पनि ओढारमा बस्नेदेखि त्रिपालमा बस्नेसम्म छन् । ‘महिलाहरू स्वयंले नै सुरक्षित बस्न नचाहेको भेटियो,’ उनले भनिन्, ‘घरमा बसे आगो लाग्ने, बाघले आक्रमण गर्ने र सन्तान नजन्मनेलगायत रूढिवादी कुराले महिलालाई च्यापेको छ ।’ तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षमा मर्यादित महिनावारी व्यवस्थापन कार्यक्रम ल्याएको छ । ‘छाउप्रथा कुनैमा कम, कुनैमा बढी भन्ने छैन । अछामको अवस्था एकैनासको छ,’ उनले भने, ‘मर्यादित महिनावारी व्यवस्थापनबारे सबै वडामा पुगेर जनचेतना जगाउनेछौं ।’
महिलाको क्षेत्रमा बजेट छुट्याए पनि सभासमारोहमा मात्रै खर्च गरेर प्रगति गरेको देखाउने प्रवृत्ति पुरानै रहेको मंगलसेन–११ की सारा रावल बताउँछिन् । ‘घरबाट टाढा गोठ । नुहाउन, लुगा धुन पानी हुँदैन । धोइएका लुगा सुक्दैनन्,’ उनी भन्छिन्, ‘सोझो गरी उभिन पनि नमिल्ने गोठमा हिउँद–वर्षा महिलाको जुनी फेरिएन । कुरा मात्रै धेरै भए ।’
जबर्जस्ती घोषणाले झन् सास्ती
महिनावारी भएका बेला साइपाल गाउँपालिका ४ धुलीकी उजली रोकायालगायत गाउँ नजिकैको चगेरा ओढारमा बस्छिन् । यो बेला आफ्नोभन्दा पनि डेढ वर्षे छोराको स्वास्थ्यको चिन्ताले सताउँछ । ‘आफू त जसोतसो रात कटाइहाल्छौं, बच्चा चिसो लागेर मर्ला भन्ने डर लाग्छ,’ उनले भनिन्, ‘३/४ महिना हिउँद कटाउन मुस्किल भयो ।’ चिसो झन्झन् बढ्दै गएकाले ओढारको बसाइ जोखिमपूर्ण बन्दै गएको उनले बताइन् ।
गत वर्ष जेठमा यहाँका सबै छाउपडी गोठ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले भत्काएपछि उजली मात्र हैन, सिंगो साइपालका महिला महिनावारीको अवधिमा ओढारमै बस्दै आएका छन् । कतिपयले भत्काइएका छाउगोठलाई टालटुल पारेर पुनः प्रयोगमा ल्याएका छन् । ‘मेरो घरमा कोही नभएका बेला छाउखुल्लो (छाउगोठ) भत्काइदिएछन्,’ धुलीकी वीरती रोकायाले भनिन्, ‘हामी त लाँगो (लाँगा देवता) मान्ने मान्छे, कसरी घरभित्र बस्नु ? छाउगोठ भत्काइदिएपछि वर्ष दिनदेखि ओढारमा बस्दै आएकी छु ।’ पुरानो दुईतले छाउगोठको माथिल्लो तल्लामा पलङसहितको सुत्ने व्यवस्था, झ्याल–ढोकामा चुकुल आदि भएकाले आफूलाई ओढारभन्दा त्यहीं धेरै सुविधा रहेको सम्झना आउने उनले बताइन् ।
जनप्रतिनिधिहरूले ‘छाउगोठ भत्काउँदै छौं’ भनेर पूर्वसूचना नदिई भत्काइएकामा यहाँका बासिन्दा आक्रोशित छन् । ‘छाउ भएको दुई दिन भएको थियो । म नुहाएर आउँदासम्म गोठ भत्काएर गइसकेछन् । हामीलाई भत्काउँदै छौं भनेर एकपटक पनि सोधेनन्,’ वडा नम्बर ३ काँडाकी जंगमती बोहराले भनिन्, ‘त्यही दिनदेखि पाल टाँगेर बस्न थालेकी हुँ ।’ गाउँपालिकाको कारबाहीमा पर्ने डरले छाउगोठ फेरि बनाउन नसक्दा महिलाको पहिलेभन्दा पनि बिजोग भएको उनले बताइन् । छाउगोठमुक्त गाउँपालिका घोषणा गर्न छुट्याइएको तीन लाख रूपैयाँ सिध्याउन जबर्जस्ती गोठ भत्काएको यहाँका महिलाको आरोप छ । साइपालकै शंकधारा बोहराले भनिन्, ‘तीन लाख खाए, गोठ पनि भत्काए । अहिले हामीले जाडोमा कठ्याङ्ग्रिनुपरेको छ ।’ यता गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले गाउँपालिकाले नभई स्थानीय महिला आफैंले छाउगोठ भत्काएको दाबी गरे । ‘हामी उनीहरूको पछाडि मात्र गएका हौं,’ उनले भने, ‘गोठ भत्काउने स्थानीय महिला नै हुन् ।’ उनीहरूलाई छाउपाडी प्रथाविरुद्धको दुईदिने तालिम दिएपछि यस्तो भएको उनले बताए । ‘केही महिला अहिले पनि ओढारमा बसिरहेको सुनेको छु,’ उनले भने, ‘बस्ने भए घरभित्रै बस्नोस्, छाउपडी गोठ बनाउन पाइँदैन भनेका छौं ।’
साइपाल गाउँपालिकाका मात्र हैन, बझाङका छाउगोठमुक्त भनिएका सबै स्थानीय तहको यस्तै हालत छ । स्थानीय तह र अधिकारकर्मीहरूको दबाबमा छाउगोठ भत्काउने अभियान चलाइएका सबै गाउँमा पुनः बनिसकेको छ । तत्काल गोठ बनाउन नसक्नेले साइपालका महिलाको जस्तै पाल र ओढारमा बसेर प्रत्येक महिनाका पाँच दिन काट्नु परिहेको खप्तड छान्ना गाउँपालिकाको माझी गाउँकी खगेश्वरी रोकायाले बताइन् ।
अछामका चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तहका ९१ मध्ये हालसम्म ३३ वडा छाउगोठमुक्त घोषणा भइसकेको तथ्यांक विभिन्न निकायसँग छ तर यथार्थ बझाङको भन्दा फरक छैन । विगतमा भन्दा अहिले परिवर्तन संस्थागत हुँदै गइरहेको छाउपडी प्रथा उन्मूलन अभियानका अभियन्ता पशुपति कुँवरले बताइन् । ‘कुनै एनजीओ र आईएनजीओले काम गरे जस्तो गरेर छाउपडी कुप्रथा हट्दैन,’ उनले भनिन्, ‘अछाममा यसलाई राजनीतिक मुद्दा बनाएनन्, राजनीतिक मुद्दा नबनेसम्म यो कुप्रथा कायम रहन्छ ।’ नेता, वकिल, शिक्षकले नै छाउपडीविरुद्ध खुलेर बोल्न नसकेको र उनीहरूले नै आफ्नो अभियानमा असहयोग गरेको उनको आरोप छ । ‘वर्षवर्षै अछाममा नै छाउगोठमा ज्यान जाने गरेको सुन्दा मजस्ता अभियान चलाउँदै हिँडेका महिलाले थाक्नुपर्ने अवस्था आउँदै छ,’ उनले भनिन् । जब छाउगोठ महिलाको ज्यान जान्छ, तब सरोकारवालाहरूले बहस चलाउन थाल्छन् । अभियान सञ्चालन गर्ने भन्दै सदरमुकाममा तालिम र गोष्ठी चलाएर काम पूरा भएको प्रतिवेदन तयार पारिन्छ ।
डोटीको पूर्वीचौकी गाउँपालिकाको गाउँ पार्श्वचित्र (भिलेज प्रोफाइल) अनुसार अझै पनि ५० प्रतिशत महिला छाउगोठमै बस्छन् । गाउँपालिका अध्यक्ष दीर्घराज बोगटी भन्छन्, ‘परिवर्तन जरुरी छ तर ढिला भइरहेको छ ।’ अछाम–डोटीको सिमानामा पर्ने पूर्वीचौकीको काँडामाडौंमा गत वर्ष माघमा २१ वर्षीया महिलाको छाउगोठमा निसासिएर मृत्यु भएको थियो । काँडामाडौं, गैरा, पोखरी, गाँजरी र सानागाउँका महिला गोठमा बस्ने गर्छन् ।
‘अहिलेका पुस्ता छाउप्रथा अन्धविश्वास हो भन्ने जान्दछन् तर सासूससुरा र समाजका डरले छाउगोठमा सुत्न बाध्य छन्,’ काँडामाडौंकी हरिनादेवी बोगटी भन्छिन् । पुरुषभन्दा महिलाबाटै छाउप्रथाबारे बढी दबाब हुने गरेको उनको अनुभव छ । महिलालाई नै अन्धविश्वासविरुद्ध लड्ने अभियान चलाउन गाउँपालिकामा चालु वर्ष प्रोत्साहन कार्यक्रम छ । छाउपडी प्रथाविरुद्ध सुरक्षित रूपमा घरभित्र बस्ने सयजना महिला छनोट गरी नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए । ‘कार्यविधिको मस्यौदा अन्तिम चरणमा छ, अब बस्ने कार्यपालिका बैठकबाट पारित हुन्छ,’ उनले भने ।
अव्यावहारिक कानुन
मुलुकी ऐनलाई विस्थापित गरी ल्याइएको नयाँ कानुनले छाउपडी परम्परालाई अपराध मानेको छ । कसैलाई महिनावारी भएका बेला छाउगोठमा बस्न बाध्य पारिए अपराध ठहर्छ । गत वर्षको भदौदेखि लागू भएको अपराध संहितामा यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई अब कानुनी रूपमै अपराध मानिएको छ । छाउगोठ पठाए वा अन्य विभेद गरे तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना व्यवस्था छ तर यो कानुन व्यावहारिक नभएको महिला नै बताउँछन् ।
छाउपडी अवस्थामा जस्तो भोग्नु परे पनि आफ्नै परिवारका विरुद्ध उजुरी गर्न गाह्रो हुने अधिकांश महिलाको भनाइ छ । ‘कानुनले भनेका कुरामा दुईमत छैन,’ बझाङ मालुमेलाकी विद्यार्थी सुनिता भण्डारीले भनिन्, ‘हामीलाई गोठमा राखे भनेर आफ्नै आमाबुबालाई जेल हाल्न मिल्दैन ।’ उनी मात्र होइन, यहाँका महिला अधिकारकर्मी पनि कानुन बन्नु सकारात्मक भए पनि यसको व्यावहारिक प्रयोग असम्भवजस्तै भएको बताउँछन् । महिला अधिकार मञ्च बझाङकी अध्यक्ष जयन्ती जोशी भन्छिन्, ‘यही समाजमा आफ्नै घरपरिवारका विरुद्धमा कानुनी उपचार खोज्ने हिम्मत महिलाहरूले गर्लान् भन्नेमा मलाई पटक्कै विश्वास छैन । म आफैं पीडित भए पनि मुद्दा हाल्ने जोखिम उठाउन सक्दिनँ ।’ छाउ बारेको विषयलाई लिएर कानुनी उपचार खोज्दा परिवारबाटै अपहेलित हुने जोखिम भएको उनको भनाइ छ ।
‘छाउपडीमाथि गरिने विभेद फौजदारी अपराध हो भन्ने कुरा कानुनी रूपमा स्थापित हुनु आफैंमा ठूलो कुरा हो,’ अधिवक्ता मोहन दौल्यालले भने, ‘कानुन बन्नु एउटा उपलब्धि भए पनि यहाँको चेतनास्तर, आर्थिक, सामाजिक अवस्था हेर्दा व्यावहारिक प्रयोग भइहाल्ला भन्ने कुरा यसै भन्न सकिन्न ।’ बार एसोसिएसन बझाङका अध्यक्ष पृथ्वीबहादुर सिंह सामाजिक संस्कारमा परिवर्तनका लागि चेतनाको स्तर उठ्नुपर्ने बताउँछन् ।
सदरमुकाममै छाउगोठ
बझाङको जयपृथ्वी नगरपालिकामा महिनामा कम्तीमा ४/५ पटक छाउपडी प्रथा उन्मूलनको विषयमा तालिम, गोष्ठी, छलफल भएकै हुन्छन् । जति चर्का भाषण हुने गरेका छन्, त्योभन्दा पनि चर्को विभेद यसै क्षेत्रका महिनावारी भएका महिलामाथि हुने गरेको छ ।
जयपृथ्वी–८ सेलाखेतमा ५० परिवारको बसोबास छ । गाउँमा मात्रै २५ भन्दा बढी छाउगोठ छन् । यतिसम्म कि महिनावारी भएका महिलाले हिंड्ने बाटो पनि अलग्गै छ । ९५ परिवारको बसोबास रहेको ११ नम्बर वडाको धामिलेकमा ४० वटा छाउगोठ रहेको स्थानीय सिद्धराज जोशीले बताए । सदरमुकाम चैनपुर रहेको वडा नम्बर १० मा मात्रै सयवटाभन्दा छाउगोठ रहेका स्थानीय बताउँछन् । ‘सदरमुकाम र नगरपालिकामै छाउपडीलाई गर्ने छुवाछूतमा कमी आउन सकेको छैन,’ अधिकारकर्मी ममता सिंह भन्छिन्, ‘दुर्गम गाउँहरूको अवस्था झन् नाजुक छ ।’ जयपृथ्वी नगरपालिकाभित्रैका विभिन्न स्थानमा करिब पाँच सयको संख्यामा छाउगोठ रहेको बताउँदै उनले भनिन्, ‘दुर्गममा खासै अनुगमन नहुने भएका कारण छाउपडीको बजेट त्यतातिर दुरुपयोग हुँदै छ । सदरमुकामको अवस्था लाजमर्दो छ ।’
छाउपडीमाथि गरिने छुवाछूतको प्रकृति पनि नगरपालिकामा बढी निर्मम छ । गाउँतिर पाँच दिनसम्म छाउ बार्नुपर्ने चलन भए पनि नगरपालिकाभित्रका अधिकांश बस्तीमा सात दिनसम्म गोठमा बस्नुपर्ने, पोसिलो खाना खान नपाइने र विभिन्न खालका विभेद भोग्नु परिरहेको स्थानीय सत्यदेवी जोशीले बताइन् । विभिन्न तथ्यांकमा करिब ३४ हजार परिवारको बसोबास रहेको बझाङमा अहिले पनि २५ हजारभन्दा बढी छाउगोठ रहेको देखाएका छन् ।
कानुन कार्यान्वयनमै जोड
कैलालीको बर्दगोरिया गाउँपालिकास्थित वसन्तमुरारी माविमा कक्षा १० मा पढ्ने डमरा कुँवरको सपना छाउपडीविरुद्ध अभियन्ता बन्ने छ । ‘वकिल भन्ने मेरो रहर मैले भोगेको पीडाको अन्त्य गर्ने नै हो,’ उनले भनिन्, ‘छाउपडीजस्ता कुप्रथाले महिलामाथि अमानवीय व्यवहार हुने भएकाले मेरो चाहना अभियन्ता बन्ने छ ।’ डोटीको गाँजरीकी १८ वर्षीया उनी चार वर्षअघि छाउगोठ बस्दा आगो लागेको घटना सम्झन्छिन् । त्यसमा परेर उनी बल्लबल्ल बाँचेकी हुन् । घटनापछि उनी घर छाडेर कैलालीको बर्दगोरिया धार्मिक वनमा रहेको सहारा घरमा बस्दै आएकी छन् ।
‘देशमा सती प्रथाको उन्मूलन पनि कानुनको प्रभावकारिताले गरेको हो,’ सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राडा हेमराज पन्त भन्छन्, ‘सती रोक्न सरकारले मलामी जानेलाई समेत समातेर कारबाही गरेको थियो । छाउपडीविरुद्ध पनि त्यसरी जान सके परिवर्तन आउन ढिला हुन्न ।’ छाउपडी प्रथामा पनि परिवारलाई कसुरदार मान्नुपर्ने उनको राय छ ।
कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक देवराज अवस्थी एकपटक गोठ भत्काएर र सामूहिक भोजका कार्यक्रम गरेर छाउपडी र छुवाछूत समाजबाट अन्त्य हुन नसक्ने तर्क गर्छन् । ‘परम्पराभित्रका कुप्रथाको एकैपटक अन्त्य गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘सचेतना कार्यक्रमसँगै कानुन कार्यान्वयनमा जोड दिइनुपर्छ ।’ गैरसरकारी संस्थाद्वारा भन्दा पनि स्थानीय सरकारका कार्यक्रम र योजनाले जनतामा प्रत्यक्ष सन्देश जाने उनले बताए ।

समाचार

गाईभैंसीसँगै बास

- ज्योति कटुवाल

(वीरेन्द्रनगर, सुर्खेत) - पञ्चपुरी नगरपालिका–१ की वडासचिव गंगा रोकाया महिनावारी हुँदा पाँच दिनको बिदा लिएर वीरेन्द्रनगरस्थित घरमा आउँछिन् । उक्त समयमा डेरामा मात्र होइन, कार्यालयभित्र समेत जान पाउँदिनन् । ‘घरबेटीको डरले कोही पनि कार्यालय जाने आँट गर्दैनन्,’ उनले भनिन्, ‘त्यही भएर महिला कर्मचारी महिनावारी भएको बेला कार्यालय जाँदैनन् ।’
छाउपडी प्रथा अन्त्य गर्ने दायित्व बोकेका सरकारी कर्मचारीकै अवस्था यस्तो छ भने सर्वसाधारण महिलाको हबिगत के होला ? पश्चिम सुर्खेत र दैलेखका ग्रामीण क्षेत्रका महिला वर्षौंदेखि यस्तै कष्टदायी जीवन बाँचिरहेका छन् । पञ्चपुरी–२ को तथ्यांक केलाउँदा कहालीलाग्दो रूप देख्न सकिन्छ । वडासचिव सिर्जना आचार्यका अनुसार त्यहाँका २ सय ११ महिलामध्ये ६८.२ प्रतिशत महिनावारी भएका बेला गाईभैंसीसँगै गोठमा सुत्छन् । २४.६ प्रतिशत छाउगोठमा र ५.३ प्रतिशत खुला आकाशमुनि बस्दै आएका छन् ।
पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र बराहाताल तथा चौकुने गाउँपालिकामा छाउपडी प्रथा मान्नेको संख्या धेरै छ । आफ्ना छाउगोठ नभएकाहरू गाईभैंसीसँगै सुत्छन् । पञ्चपुरी–५ की २० वर्षीया माया थापाले महिनावारीको पाँच दिन निकै त्रासदीपूर्ण हुने गरेको बताइन् । ‘घरदेखि टाढा एकान्तमा बस्नुपर्दा रातभरि निद्रा लाग्दैन,’ उनले भनिन्, ‘त्यसमाथि हिउँदमा चिसो र बर्खामा सर्पको डर हुन्छ ।’
विगतमा सरकारी तथा गैरसरकारी संघसंस्थाले छाउगोठ भत्काउने अभियानै चलाए तर फेरि गोठहरू बनाइएका छन् । छाउगोठ बनाउनु पनि स्थानीयका लागि शौचालय बनाउनुजस्तै प्रतिष्ठाको विषय छ । पञ्चपुरी–१ मा मात्रै करिब सात सयवटा छाउगोठ रहेको वडाध्यक्ष दानबहादुर थापा बताउँछन् । आफ्नै कार्यालयका कर्मचारीसमेत महिनावारी भएका बेला बिदामा बस्ने गरेको उनले स्विकारे । ‘वडाको आफ्नो घर छैन, भाडामा बस्नुपरेको छ,’ उनले भने, ‘भाडाको घर भएकाले घरबेटीको आदेश मान्नैपर्ने बाध्यता छ ।’ छाउपडी प्रथा उन्मूलनसम्बन्धी नीति बनाए पनि जनताको चेतनास्तर परिवर्तन नहुँदा योजनाहरू कागजमै सीमित हुने गरेको छ ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ की तुलसा शाहीको दुई वर्षअघि छाउगोठमा सुतेको बेला सर्पले डसेर मृत्यु भयो । सोही नगरपालिका–३ की लालसरा बिकको पनि गोठमै मृत्यु भयो । दुई दशकयता दैलेखमा मात्र १३ जना महिलाको छाउगोठमा मृत्यु भएको सुर्खेतको वातावरण सुधार समाजको तथ्यांकमा छ । ३२ हजार जनसंख्या रहेको पञ्चपुरीमा आधा संख्या महिलाको छ । त्यसको आधाभन्दा बढी संख्या महिनावारी हुने उमेरका छन् । यिनीहरूलाई छाउगोठबाट घरमा सार्न प्रभावकारी कार्यक्रम छैन । छाउपडीविरुद्ध शीर्षकमा कुनै पनि बजेट छैन ।
चौकुनेले गाउँपालिकाले छाउपडी प्रथा न्यूनीकरण शीर्षकमा एक लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका कार्यालयकी अधिकृत आशा बुढाका अनुसार गाउँपालिकाका १ सय २५ वटा छाउगोठ रहेको पहिचान भएको छ । ‘बजेट छुट्याएर मात्र हुँदैन, मान्छेको मानसिकतामा परिवर्तन नल्याई यो प्रथा अन्त्य हुन सक्दैन,’ उनले भनिन् ।
दैलेखको आठबिसकोट नगरपालिकामा एक गैरसरकारी संस्थाले छाउपडी अन्त्यका लागि ४२ लाख रुपैयाँ खर्च गर्‍यो । करिब पाँच वर्षसम्म छाउपडी अन्त्य अभियान जोडतोडका साथ चल्यो तर अहिले उक्त नगरपालिकाका विभिन्न वडामा छाउगोठ छ्यापछ्याप्ती छन् । नगरपालिकाका सिंगासैन, सिंगौडी, तिलेपाटा, सात्तला, पिपलकोट र राकमकर्णालीमा धमाधम छाउगोठ निर्माण भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष छाउपडी तथा बालविवाहमुक्त अभियानका लागि २० लाख रुपैयाँ छुट्याएको छ ।

Page 14
१३ औं दक्षिण एसियाली खेलवुद

गौरिकाको दोस्रो स्वर्ण

- विनोद पाण्डे

(काठमाडौं) - पौडीका सनसनी गौरिका सिंहले लगातार दोस्रो दिन १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी छन् । उनले शुक्रबार सातदोबाटोस्थित हिटिङ सिस्टमको पौडी पोखरीमा २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितिन् । उनले त्यसक्रममा भारतीय नम्बर एक खेलाडी मन्ना पटेललाई आश्चर्यमा पारेकी थिइन् ।
गौरिकाले स्वर्ण जित्नेक्रममा २ मिनेट १७.७३ सेकेन्ड निकालिन् । सुरुदेखि गौरिकालाई पछाडि पारे पनि अन्तिममा हिस्स भएकी पटेलले २ मिनेट २०.७१ सेकेन्डमा रेस पूरा गरेकी थिइन् । श्रीलंकाकी गंगा मालवाथथागे २ मिनेट २७.२५ सेकेन्डसाथ तेस्रो स्थानमा रहिन् ।
गौरिकाले अघिल्लो दिन २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन् । सन् २०१६ भारतमा भएको पछिल्लो सागमा गुवाहाटीमा उनले २०० मिटर ब्याकस्ट्रोकमा कास्य पदक जितेकी थिइन् । त्यसमा मन्नाले रजत जितेकी थिइन्, जसमा उनको टाइमिङ २ मिनेट २२.०६ सेकेन्ड थियो । गौरिकाले गुवाहाटीमा २ मिनेट २६.९३ सेकेन्डको टाइमिङ निकालेकी थिइन् । यो सबै लामो कोर्समा थियो । अहिले शर्ट कोर्समा प्रतिस्पर्धा भइरहेको छ ।
गौरिकाको स्वर्णमा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यलाई कुनै आश्चर्य लागेन । ‘गौरिकाको प्रदर्शन हामीले शतप्रतिशत आस गरेअनुसार नै हो । उनले पनि यही आशा गरेको थिइनँ । आशा भनेको सबैभन्दा ठूलो प्रयास नै हो । उनमा स्पिड छ, जुन स्पिड उनले देखाइरहेको छ, त्यसले हाम्रो आशामा झन भरोसा बढेको छ,’ वज्राचार्यले भने, ‘गौरिकाबाट हामीले कम्तीमा तीन स्वर्ण अपेक्षा गरेका छौं । हाम्रो आशाभन्दा पनि बढी उनले स्वर्ण जितून । योभन्दा पनि राम्रो समय निकाल्ने सक्ने प्रदर्शन उसभित्र छ । २०० मिटर व्यक्तिगत मिड्ले, १ सय मिटर ब्याकस्ट्रोक जस्ता महत्त्वपूर्ण इभेन्टमा उनले खेल्नै बाँकी छ ।’
जारी सागमा २ स्वर्ण जित्ने उनी पछिल्लो खेलाडी हुन् । करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोका आयशा शाक्यले यसअघि २–२ स्वर्ण जितिसकेका छन् । गल्फबाट शुक्रबारै सुवास तामाङले पनि २ स्वर्ण जिते ।
पौडीका मुख्य प्रशिक्षक शंकर कार्की गौरिकाको पछिल्लो सफलतालाई उत्कृष्ट नतिजा मान्छन् । ‘उनले जसलाई हराइन् उनी भारतको मात्र नभएर दक्षिण एसियाकै नम्बर एक खेलाडी हुन् । त्यस्तो खेलाडीलाई गौरिकाले जित्नु एकदमै ठूलो सफलता हो,’ कार्कीले भने, ‘उनले सबै तयारी लन्डनमै बसेर गरेकी थिइन्, त्यसमा कुनै शंका छैन । लामो दूरी र ब्याक उसको मुख्य इभेन्ट हो । त्यसैले उसले ब्याकमै केन्द्रित भएर ब्याकमै पदक दिलाउँछु भनेकी थिइन । उनको सोच, उद्देश्यअनुरुप नै उसले अभ्यास गरिरहेका थिइन । यहाँ आएर हामीसँग उनले केही दिन अभ्यास गरिन् । यसैको परिणाम अहिले आइरहेको छ ।’
पहिलो ५ ल्यापमा मन्नाले अग्रता लिएकी थिइन् । अन्तिम ३ ल्यापमा गौरिकाले अविश्वसनीय रूपमा पुनरागमन गर्दै स्वर्ण जितेकी हुन् । ‘खेलाडीमा हुनुपर्ने एउटा गुण यही नै हो । उनले पेस मेन्टेन्स गर्दै, पेसमा खेली भारतीय खेलाडीलाई अगाडि पठाइन् । पछि चाहिँ उनले हाम्रो योजनाअनुसार नै खेलिन,’ भारतीय खेलाडीलाई सुरुमा अगाडि राख्ने नेपालको रणनीति भएको जनाउँदै कार्कीले भने, ‘तेस्रो ल्यापपछि चाहिँ भारतीय खेलाडीको कम हुँदै गइन् र हाम्रो पेस बढ्दै गयो । गौरिकाले यसरी खेल्छु भनेको थिइन, हाम्रो रणनीति पनि यही थियो ।’
गौरिकाले केही इभेन्ट छाड्ने
गौरिकाले बिहीबार पहिलो स्वर्ण जितेपछि सञ्चारमाध्ययमा आफ्नो १२ इभेन्ट सकिएपछि मात्र प्रतिक्रिया दिने जनाएकी थिइन् । उनले व्यक्तिगत ९ र टिममा ३ गरी १२ इभेन्टमा नाम दर्ता गराएकी थिइन् । शुक्रबार ४ सय मिटर व्यक्तिगत मिड्ले छाडेकी उनले शनिबार पनि एक इभेन्ट नखेल्ने प्रशिक्षक कार्की बताउँछन् । जसका कारण उनले व्यक्तिगत ६–७ इभेन्टमा मात्र खेल्ने सम्भावना छ ।
‘२ सय मिटर ब्याकस्ट्रोकमा खेल्न उनले एउटा इभेन्ट छाडेकी हुन् । त्यसको कारण उनी २०० मिटर ब्याकस्ट्रोकमा उत्कृष्ट नतिजा दिन चाहन्थिन्,’ प्रशिक्षक कार्कीले भने, ‘२ भन्दा बढी स्वर्ण ल्याउने हाम्रो लक्ष्य छ । समय पनि राम्रै आइरहेकाले त्यो लक्ष्यमा हामी पुग्छौं । तर सँगै इभेन्ट पर्न गएकाले उनले केही इभेन्ट छाड्नुपर्ने हुन्छ । भोलि उनको ८ सय मिटर फ्रिस्टाइल छ, त्यसको दुई इभेन्टपछि १०० मिटर ब्याकस्ट्रोक छ । ८ सय मिटर फ्रिस्टाइल खेलेर उनले १ सय मिटरमा राम्रो प्रदर्शन दिन सक्दिनन् ।’
गौरिकाले शनिबार कुन इभेन्ट छाड्नेबारे सल्लाह हुन बाँकी रहेको कार्कीले जनाए । ‘दुवै इभेन्ट खेल्दा हामीले दुवैमा केही नपाउन सक्छौं । त्यसैले एउटा हामी छाड्छौं होला । उसको पनि यही हो भनाइ । धेरै इभेन्टमा खेलेपछि जुध्नु स्वाभाविक नै हो । अझै उसको ६ वटा व्यक्तिगत बाँकी छ । टिम इभेन्ट सबैमा उसले खेल्ने छिन्,’ उनले भने ।

१३ औं दक्षिण एसियाली खेलवुद

‘जिन्दगीमा नबिर्सिने क्षण’

- कान्तिपुर संवाददाता
अशोक वज्राचार्य
अध्यक्ष, पौडी संघ

 

डुआना लामा भर्खर १३ वर्षकी भइन् । सागजस्तो प्रतियोगितामा उनले रजत पदक जित्नु हाम्रा लागि ठूलो सौभाग्य हो । गौरिकाबाहेक अरु खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् । हामीले तयारी गरेअनुरुप, आशा गरेअनुरुप जुन प्रदर्शन आएको छ, त्यसले हामी निकै सन्तुष्ट छौं । बाँकी इभेन्टमा पनि हामीले पदक जित्न सक्छौं ।
गौरिकाको सुविधा जुन ठाउँमा छ, त्यो हामीमा छैन । हामीसँग बाह्रै महिना खेल्ने पूर्वाधार थिएन । अरु खेलाडीमा पनि क्षमता छ । निजी क्षेत्रको पोखरीमा आज हामीले खेलायौं, त्यसको नतिजा अहिले हामीले पाइरहेका छौं । अब पौडीको दिनको शुभारम्भ भयो । हाम्रो पौडी १–२ वर्षभित्रमा भारतको अलावा दक्षिण एसियामा दोस्रो स्थानमा पुग्ने छौं ।
हिटिङ सिस्टमको नयाँ पौडी पोखरीले हामीलाई नयाँ जोश दिएको छ । यो हिटिङ पुल अहिलेको हाम्रो योजना होइन, यो हाम्रो असाध्यै ठुलो ड्रिम प्रोजेक्ट हो । यो ड्रिम प्रोजेक्टलाई हामीले सागका लागि भनेर निकै चुनौतीपूर्ण हिसाबमा सकायौं । मन्त्री, सदस्य–सचिवदेखि नै हामी दिनरात खटियौं । खटेअनुसार नै हामीले साग हुनु ठीक अगाडि सम्पन्न पनि गर्‍यौं । सम्पन्न गरेअनुसारको सन्तुष्टि आज हामीले पाइरहेका छौं । यो असाध्यै खुसीको दिन हो । एउटा भौतिक पूर्वाधर सम्पन्न हुनु र अर्को सागमा नेपालले पहिलो व्यक्तिगत स्वर्ण जित्नु जिन्दगीमा नबिर्सिने क्षण हो । खेलकुदमा मैले जति समय बिताएँ, आजजस्तो खुसीको दिन अरु आउँदैन ।
भौतिक पूर्वाधारको विकासमा पौडीको हिजोभन्दा आज बढी छ । सन् १९९६ को उदाहरण दिउँ, हाम्रो महिलाको ५० मिटरका लागि ०.४२ सेकेन्ड लाग्थ्यो । आज हामी हेर्नुस, २५ देखि २७ सेकेन्डमा आइसक्यौं । हामीले आशा गरे जति प्रगति गर्न सकेनौं होला । खेल्ने ठाउँ नै नहुँदा पनि हाम्रो खेलाडीले जुन मिहिनेतसाथ अगाडि बढी यो आधार बनाएका छन् । हरेक वर्ष २० देखि २५ राष्ट्रिय कीर्तिमानमा सुधार भइरहेको छ । अझ पनि हाम्रो प्रयास जारी छ । अब हिटिङ सिस्टमको पौडीले राम्रो गति लिन्छ । अब हामी दक्षिण एसियाबाहिरको इभेन्ट पनि आयोजना गर्न सक्छौं । दक्षिण एसियाभित्रै पनि आमन्त्रण प्रतियोगिता पनि गर्छौं ।

१३ औं दक्षिण एसियाली खेलवुद

गौरिका र एलेक्जेन्डरले ओलम्पिक खेल्ने

- कान्तिपुर संवाददाता

अर्को वर्ष जापानमा हुने ओलम्पिकमा पौडीका गौरिका र एलेक्जेन्डर साहले सहभागिता जनाउने भएको पौडी संघका अध्यक्ष वज्राचार्यले बताए । जुलाईमा दक्षिण कोरियामा १८ औं फिना च्याम्पियनसिपमा नेपालका तर्फबाट महिलामा गौरिका र सोफिया शाह तथा पुरुषमा एलेक्जेन्डर शाह र शुभम श्रेष्ठले सहभागिता जनाएका थिए ।
फिना च्याम्पियनसिपमा देखाएको प्रदर्शनका आधारमा गौरिका र एलेक्जेन्डरले ओलम्पिकमा सहभागिता जनाउने अध्यक्ष वज्राचार्यले बताए । ‘ओलम्पिक छनोटका रूपमा त्यो प्रतियोगिता आयोजना गरिएको थियो । त्यसमा हाम्रा सहभागी ४ मध्ये २ ले ओलम्पिक खेल्ने छन्,’ उनले भने, ‘उनीहरूले जुन प्रदर्शन देखाए त्यसका आधारमा दुबैको ओलम्पिकमा सहभागिता रहने छ । गौरिकाले आउँदो ओलम्पिकमा यो भन्दा धेरै राम्रो गर्नसक्छे ।’
फिना विश्व च्याम्पियनसिपमा गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा १ मिनेट ००.६२ सेकेन्डसाथ ९३ राष्ट्रका खेलाडीमा ६९ औं भएकी थिइन् । लामो कोर्समा उनले राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । २ सय मिटर फ्रिस्टाइल २ मिनेट १३.०० सेकेन्डका साथ ६१ राष्ट्रका खेलाडीमा गौरिका ४८ औं भएकी थिइन् । एलेक्जेन्डरले १ सय मिटर फ्रिस्टाइल ५६.२८ सेकेन्डसाथ १ सय २९ खेलाडीमा १ सय २ औं स्थानमा थिए । उनले लामो दुरीको कोर्समा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधारेका थिए ।
मुख्य प्रशिक्षक शंकर कार्कीले सोफिया र शुभमले अलिकति घाइते भएका कारण राम्रो गर्न नसकेको तथा गौरिका र एलेक्जेन्डरले निकै राम्रो गरेको जनाए ।
‘सागपछि ओलम्पिकलाई विशेष तयारी हामी अगाडि बढाउने छौं । दुवैले ओलम्पिकमा अहिलेभन्दा राम्रो गर्छ भन्ने आशा लिएको छु,’ अध्यक्ष वज्राचार्यले भने ।

१३ औं दक्षिण एसियाली खेलवुद

कुस्तीमा भारतको दबदबा

- सन्तोष सिंह

(धनुषा) - १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत शुक्रबार जनकपुरमा सुरु कुस्ती खेलको पहिलो दिन भारतले ४ स्वर्ण पदक जितेको छ । नेपालले प्रतिस्पर्धी खेलमा १ रजत र ३ कांस्य जितेको छ । श्रीलंकाले ३ रजत र १ कांस्य जितेका छन् ।
जनकपुरको मुजेलियास्थित कर्भडहलमा शुक्रबार महिलाका ५० र ५२ तौल समूह र पुरुषका ५७ र ६५ तौलमा प्रतिस्पर्धा भएको थियो । ५३ केजीमा भारतकी पिंकी कुमारीले स्वर्ण जितेकी छन् । उनले नेपालकी शिवांगी दुबेलाई हराइन् । शिवांगीले पिंकीलाई अन्तिम चरणमा कडा टक्कर दिएकी थिइन् । यस तौलमा श्रीलंकाकी शमिकाले कांस्य जितिन् ।
५० केजीतर्फ भारतकी शीतल तोमरले श्रीलंकाकी रोशनीलाई हराएर स्वर्ण जितिन् । नेपालकी मनीषा सिंहले कांस्यमै चित्त बुझाइन् । नेपाल, भारत, बंगलादेश र श्रीलंकाका खेलाडीले भाग लिएका थिए । भारतीयसँग नेपाली खेलाडी मात्रै धेरै समय रिङमा टिकिरहे ।
शुक्रबारै साँझ पुरुष ५७ केजीमा भारतको राहुल कुमारले स्वर्ण, श्रीलंकाका कथोरंगनाले रजत र नेपालका नरेश यादवले कांंस्य जिते । ६५ केजीमा भारतका अमित कुमारले स्वर्ण, श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कांस्य जितेका छन् । पाकिस्तानी दुवै तौल समूहमा थिएनन् । बंगलादेशको खेलाडी सहभागी भए पनि भारत र नेपालसँग पराजित भयो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कुस्तीको उदघाटन गरेका थिए । उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले हिमाल, पहाड र तराई जोड्न सागको कुस्ती स्पर्धा जनकपुरमा गरिएको बताए ।
उद्घाटनमा नेपाली सेनाको सांस्कृतिक टोली र जनकपुरको मिथिला नाट्य कला परिषदका कलाकारले झाँकी र नृत्य प्रस्तुत गरेको थियो । साँझ कर्भडहलबाहिर आतिशबाजी गरिएको थियो ।

Page 15
१३ औं दक्षिण एसियाली खेलवुद

चिफ रेफ्रीका स्वर्णधारी पति

- दीपक परियार
स्वर्ण विजेताका पति विकास थापाका साथ रेफ्री नीति श्रेष्ठ । तस्बिर ः दीपक/कान्तिपुर

(पोखरा) - बिरलै हुने घटनामध्येमा पर्छ, पत्नी चिफ रेफ्री भएकै खेलमा पतिले स्वर्ण जित्नु । पोखरामा शुक्रबार त्यस्तै भयो । प्लेटफर्ममा थिए विकास थापा । दायाँबायाँ एक–एक रेफ्री राखेर बीचमा थिइन्, चिफ रेफ्री नीति श्रेष्ठ (थापा) ।
१३ औं दक्षिण एसियाली खेलकुदको भारोत्तोलनअन्तर्गत ८९ केजी तौलमा विकासको टक्कर बंगलादेशी खेलाडीसँग थियो । नीति दोहोरो भूमिकामा थिइन् । रेफ्रीको सही निर्णय छुट्याउनु थियो । पत्नीमन भन्थ्यो, ‘पतिले
स्वर्ण जितुन् ।’
नीतिको कामना पूरा भयो । विकासले स्न्याचतर्फ १ सय २३ केजी र क्लिन एन्ड जर्कतर्फ १ सय ४६ केजी गरी कुल २ सय ६९ केजी उचालेर स्वर्ण जिते । आफ्नै आँखाअघि पतिले स्वर्ण जित्दा नीति एकछिन ट्वाँ परिन् । रेफ्रीको रूपमा साक्षी बसिन् । खुब चिच्याएर उफ्रिन मन थियो । प्लेटफर्ममा पुगेर विकासलाई गर्लम्म अँगालौं जस्तो भएथ्यो । तर चिफ रेफ्रीको भूमिकाले उनलाई रोक्यो । ‘आफैं स्वयं चिफ रेफ्री, मुटु पूरै ढुकढुक भयो । कति देवीदेवता पुकारें त्यो मेरो मनमै छ,’ बढेको श्वासमा उनले भनिन्, ‘उसलाई गएर एकैचोटि ‘हग’ गरम जस्तो भएथ्यो तर उठ्नै मिलेन ।’
त्यसो त उनी आफैं कुनै बेला भारोत्तोलनको राष्ट्रिय खेलाडी थिइन् । दुवैको भेट पनि प्रशिक्षणकै क्रममा भएको हो । दुवैको घर वीरगन्ज । दूरी जम्मा ६ किलोमिटर । चिनजान भने भारोत्तोलन सिक्ने कभर्डहलमा भयो । भारोत्तोलनमा विकासभन्दा सिनियर थिइन् नीति । सिक्दासिक्दै, खेल्दाखेल्दै दुवैको मन मिल्यो । थुप्रै प्रतियोगितामा सँगै भाग लिए । ६ वर्षसम्म प्रेम चल्यो अनि विवाह । विवाहअघि नै एकअर्काको घर आउँजाउँ चलिसकेको थियो । परिवारले रोकतोक गरेन । विवाहपछि दुवै काठमाडौं गए । विकास प्रहरीमा भर्नार् भएर भारोत्तोलनलाई निरन्तरता दिए । नीतिले रेफ्री कोर्स गरिन् । उनले डेढ वर्षअघि अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्स लिइन् ।
धेरै खेलमा नीति रेफ्री हुँदा विकास प्लेटफर्ममा उत्रेका छन् । पत्नीको अघि केही डर लागेजस्तो हुन्छ विकासलाई । तर आफूलाई सम्हालेर खेलमा केन्द्रित हुन्छन् । ‘मभन्दा ऊ बढी तर्सिन्छे,’ नीतितिर ईशारा गर्दै विकासले भने । नीतिलाई रेफ्रीको भूमिका राम्रोसँग थाहा छ । पतिको खेल पर्दा पत्नी मन दायाँबायाँ हुन्छ कि भन्ने उनलाई अलिकति पनि डर हुँदैन । ‘मसहित मेरो दायाँबायाँ दुई रेफ्री हुन्छन्, मुख्य जुरी पनि हुन्छ,’ उनले भनिन्, ‘हाम्रो निर्णय चित्त नबुझे जुरीले प्रश्न उठाउन पाउँछ ।’
भारतमा सम्पन्न १२ औं सागमै रजत जितेका विकास यसपल्ट स्वर्ण जित्छु भन्नेमा ढुक्क थिए । उनले आफ्नै नाममा रहेको स्न्याचतर्फ १२२ केजी र क्लिन एन्ड जर्कतर्फ १४२ केजीको कीर्तिमान पनि तोडे । ‘गुरुको मिहिनेत, आफ्नो मिहिनेत र देशको लगानीले स्वर्ण जित्न सफल भएँ,’ उनले भने, ‘अबको लक्ष्य एसियाली खेलकुदमा पदक जित्नु हो ।’
यसअघि बिहीबार सन्जु चौधरीले महिलातर्फ ५९ केजीमा स्वर्ण जित्दै इतिहास
रचेकी थिइन् ।
शुक्रबार ८९ केजी तौलमा बंगलादेशका खेलाडी मोहम्मद सकायत हुसेनले रजत जिते । उनले स्न्याचमा १ सय २३ र क्लिन एन्ड जर्कमा १ सय ४५ तौल उठाउँदै रजत जितेका हुन् । अर्का प्रतिस्पर्धी पाकिस्तानी अब्बुर रहमान बिरामी भएपछि खेल्न सकेनन् ।
यस्तै, ८१ केजीमा पाकिस्तानका हैदर अलीले स्वर्ण जिते । उनले स्न्याचमा १ सय ४२ केजी र क्लिन एन्ड जर्कमा १ सय ७६ केजीसहित ३ सय १८ केजी भार बहन गरे । भारतका अजय सिंहले स्न्याचमा १ सय ४० केजी र क्लिनमा १ सय ७६ केजी गरी ३ सय १६ केजी भार उचाले । श्रीलंकन खेलाडी भिसिजी विदाङ्गेले कांस्य पदक हात पारे । उनले स्न्याचमा १ सय २८ केजी र क्लिनमा १ सय ६० केजी उचाले ।
भारोत्तोलनबाट जारी संस्करणमा नेपालले २ स्वर्ण र ६ कांस्य जितिसकेको छ ।
पोखराको माटेपानीमा रहेको एसआर केसी बैंक्वेटमा नेपालका कमलबहादुर अधिकारी (६७ केजी), प्रकाश केसी (७३ केजी), राज्यलक्ष्मी थापा (महिला ७१ केजी) र देवी चौधरी (महिला ६४ केजी) ले कांस्य जितेका छन् । बिहीबार सन्जु चौधरीले स्वर्णसहित संगीता राई (४५ केजी) र तुलाराम महतो (५५ केजी) ले कांस्य जितेका थिए ।
चार दिन चल्ने भारोत्तोलन प्रतियोगितामा महिला पुरुषतर्फ ७–७ इभेन्ट प्रतिस्पर्धा हुनेछ ।
पतिपत्नीले नै जिते कांस्य
पोखरामा भएको भारोत्तोलनमा शुक्रबार अर्को जोडी चर्चाको विषय बन्यो । जब दुवैले कांस्य पदक जिते । यो जोडी हो कमलबहादुर अधिकारी र राज्यलक्ष्मी थापाको । श्रीलंकामा सम्पन्न सागको १० औं संस्करणमा भारोत्तोलनमा स्वर्ण जितेका कमलबहादुर पोखरामा कांस्यमा सीमित भए । यो उनका लागि सोचेजस्तो नतिजा थिएन । उनले पुरुष ६७ केजीतर्फ कुल २५२ केजी तौल उचाले । राज्यलक्ष्मीले ७१ केजीतर्फ स्न्याचतर्फ कुल १५० केजी तौल उचालेर कांस्य जितिन् । यसपल्टको सागमा पतिपत्नीले नै पदक जितेको सम्भवतः यो पहिलो घटना हो ।
कमलले स्न्याचमा १ सय १२ र क्लिन एन्ड जर्कतर्फ १ सय ४० तौल गरी कुल २ सय ५२ तौल भार बहन गरेका हुन् । पाकिस्तानी र श्रीलंकनको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लिन एन्ड जर्कतर्फ दबाबमा
परेका थिए ।
प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १ सय ४० र क्लिन एन्ड जर्कमा १ सय ५२ गरी कुल २ सय ९२ तौल उठाउँदै स्वर्ण जिते । श्रीलंकाका जेएसी लाक्मलले स्न्याचमा १ सय १९ र क्लिन एन्ड जर्कमा १ सय ४४ गरी कुल २ सय ६३ तौल उठाउँदै रजत जितेका छन् । पहिलो सहभागिता जनाएको भुटानका तर्फबाट वीरबहादुर लिम्बू चौथो भए ।
राज्यलक्ष्मीले स्न्याचमा ६७ र क्लिन एन्ड जर्कमा ८३ सहित कुल १ सय ५० किलो भार उठाउँदै कांस्य जितेकी हुन् । उक्त स्पर्धामा भारतले स्वर्ण र बंगलादेशले रजत पदक जितेका थिए ।
भारतकी मनप्रित कौरले स्न्याचमा ८५ र क्लिन एन्ड जर्कमा १ सय ७ गरी कुल १ सय ९२ किलो भार बहन गरी स्वर्ण जितेकी हुन् । बंगलादेशकी रोकेया सुल्तान साठीले स्न्याचमा ७० र क्लिन एन्ड जर्कमा ८५ गरी कुल १ सय ५५ किलो भार बहन गर्दै रजत जितिन् ।
महिला ६४ केजी तौल समूहमा नेपालकी देवी चौधरीले यसपल्ट पनि कांस्य जितिन् । उनले १२ औं संस्करणमा नेपाललाई कांस्य दिलाएकी थिइन् । यसपल्ट उनले १ सय ५३ किलो तौल उठाउँदै कांस्य जितेकी हुन् । उनले स्न्याचमा ६८ र क्लिन एन्ड जर्कमा ८५ केजी तौल उठाइन् । सो तौल समूहमा भारत नै स्वर्ण जित्न सफल भयो ।
भारतकी राखी हल्डरले स्न्याचतर्फ ९० र क्लिन एन्ड जर्कमा १ सय १० गरी २ सय किलो उठाउँदै शीर्षस्थानमा रहिन् । श्रीलंकाकी भी हर्षिकाले रजत जितिन् । उनले स्न्याचमा ७० र क्लिन एन्ड जर्कतर्फ १ सय गरी कुल १ सय ७० केजी भार बहन गरिन् ।
शुक्रबार नै पुरुष ७३ केजी तौल समूहमा नेपाल अर्को कांस्य जित्न सफल भएको छ । नेपालका प्रकाश केसीले कांस्य जितेका हुन् । भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका छन् । भारतीयले स्न्याचमा १ सय ३५ र क्लिन एन्ड जर्कमा १ सय ६५ गरी कुल ३ सय केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् ।
पाकिस्तानी खेलाडीले स्न्याचमा १ सय २८ र क्लिन एन्ड जर्कमा १ सय ५१ गरी कुल २ सय ७९ तौल उठाउँदै रजत र नेपालका प्रकाशले स्न्याचतर्फ १ सय १५ र क्लिन एन्ड जर्क विधामा १ सय ५० गरी कुल २ सय ६५ तौल उठाएका हुन् ।

१३ औं दक्षिण एसियाली खेलवुद

सुटिङ रेन्जमा खेलाडी बेचैन

- राजेन्द्र नाथ

(काठमाडौं) - श्रेया केसीको निसाना बीचमै चुक्यो । हतियार जाम भएर पड्किएन । प्रतिस्पर्धी देशका खेलाडीसँग माग्दा ‘जुरी’ ले हतियारको फेहरिस्त माग्यो । अपर्झटमा त्यो सम्भव थिएन । फाइनल चरण नजिक पुगेकी श्रेया क्वाँ क्वाँ रुन थालिन् । उनको रुवाई एकाध घण्टासम्मै थामिएन । सातदोबाटोस्थित सुटिङ रेन्जमा नेपाली खेलाडीको पुरानो नियति शुक्रबार फेरि दोहोरिएको छ ।
खेलाडी सुटिङ रेन्जमा जान्छन्, निसाना पनि लगाउँछन् । पुराना हतियार बीचमै जाम हुँदा अंक हासिल गर्न सक्दैनन् । प्रशिक्षकहरू खेलाडीलाई थुमथुम्याउने प्रयास गर्छन् । उनीहरूसँग त्यसबाहेक अरू विकल्प छैन । सुटिङ संघका पदाधिकारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई दोष दिएर उम्किन खोज्छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सुटिङमा यस्ता दृश्य प्रत्येक दिन दोहोरिरहेका छन् । विदेशी खेलाडीका अगाडि राष्ट्रकै बेइज्जत हुँदा पनि संघ पदाधिकारी भने ‘समस्यालाई टालटुल गरेर साग सफल पारिरहेको’ दाबी गर्छन् । ‘यस्तो अवस्थामा पनि संघ एकजुट भएर समस्या टालटुल पारी साग सफल बनाउन जुटेको छ,’ अध्यक्ष पुष्पदास श्रेष्ठ भन्छन्, ‘नत्र खेल आयोजना हुँदैनथ्यो ।’
चीन सरकारको सहयोगमा निर्माण गरिएको सुटिङ रेन्ज एसियाकै उत्कृष्ट भएको दाबी श्रेष्ठले गरे । तर नेपाली खेलाडीलाई पेस्तोल, राइफल र गोली किन व्यवस्था गर्न नसकेको ? उनको उत्तर छ, ‘राखेपलाई ताकेता गर्दागर्दै थाकिसक्यौं । पूर्व सदस्य–सचिव केशवकुमार विष्टको पालादेखि नै भनसुन गरिरहेका हौं । एउटै माग राखेर महिनामा होइन, १५–१५ दिनमा भेट्न गयौं । आश्वासन मात्र पाइयो । हतियार पाइएन ।’
हतियार नहुँदाको पीडा भने खेलाडीले भोगिरहेका छन् । उनीहरू प्रतिद्वन्द्वी मुलुकसँग हतियार मागेर प्रतिस्पर्धा गर्न बाध्य छन् । सुटिङ रेन्जमा छिर्दादेखि नै खेलाडी तनावमा देखिन्छन् । शुक्रबार १० मिटर एयर पेस्तोलतर्फको खेल चलिरहेको थियो । श्रेयासँगै प्रतिस्पर्धामा थिए अन्य खेलाडी । अंकका आधारमा भारतीय, पाकिस्तानी र बंगलादेशी खेलाडी मात्रै श्रेयाभन्दा माथि थिए । चौथो स्थानमा रहेकी श्रेयाले १४ फायर गर्न बाँकी थियो । १ घण्टासम्म चल्ने १० मिटर एयर पेस्तोलको स्पर्धामा एक जना खेलाडीले ६० पटकसम्म सुट गर्न पाउँछन् । श्रेयाले ४६ फायर गरिसकेकी थिइन् । त्यसपछि पेस्तोल चल्दै चलेन । उनी एरिनामा बसेर आँसु झार्न थालिन् ।
उनलाई १४ गोली हान्न १८ मिनेटको समय थियो । फाइनल चरण नजिक पुगेकी श्रेया खेल छाड्ने अवस्थामा थिइनन् । सायद विदेशी मुख्य जुरी कैशारुल इस्लामलाई नेपाली खेलाडीको त्यस्तो अवस्था देखेर ‘माया’ जाग्यो । उनले चिनियाँ प्रतिनिधिसँग कुरा गरेर श्रेयालाई ३
मिनेट परीक्षण र ७ मिनेट बाँकी १४ गोली सकाउन समय दिए ।
समस्या पेस्तोलकै थियो । अन्य देशका खेलाडीले उपलब्ध गराए पनि त्यसको फेहरिस्त (कोड नम्बर र प्रतिनिधि) नहुँदा त्यो मौका पनि चुक्यो । नेपालकै २५ मिटर र्‍यापिड फायर पेस्तोल स्पर्धाका विपेश खड्काले श्रेयालाई आफ्नो पेस्तोल दिए । २५ मिटरमा खेल्ने पेस्तोलले १० मिटरमा निसाना लगाउनुपर्ने बाध्यता थियो । उनले हतार हतारमा प्रहार गरे पनि अंक बटुल्न सकिनन् । ‘पदक नजिक पुगेकी श्रेया अन्तिम समयमा पेस्तोलले धोका दिएपछि पहिलो चरणबाटै बाहिरिइन्,’ अर्का खेलाडी नरेन्द्र थापाले भने ।
बुधबार पनि त्यस्तै अवस्था आएको थियो । २५ मिटर स्पोर्ट्स पेस्तोलतर्फ खेलिरहेकी सीमा तुलाधरले प्रयोग गरिरहेको हतियार नपड्किएपछि उनी निकैबेर रोएकी थिइन् । मंगलबार २५ मिटर सेन्टर फायर पेस्तोल (पुरुष) तर्फको स्पर्धामा एक जनाले भारतीय खेलाडीसँग गोली र पाकिस्तानीसँग पेस्तोल मागेर खेलेका थिए । सुटिङ संघ र राष्ट्रिय खेलकुद परिषद्को बेवास्ताप्रति खेलाडी आक्रोशित छन् । तर सुटिङ संघको कारबाहीमा पर्ने त्रासले उनीहरू बोल्न चाहँदैनन् । ‘केही दिनयता सुटिङमा देखिएको अव्यवस्थाबारे समाचार प्रकाशित भएपछि उनीहरूले मिडियामा नबोल्न भनेका छन्,’ एक खेलाडी भन्छन् ।
सुटिङ संघका अध्यक्ष श्रेष्ठले २५ मिटर स्पोर्ट्स पेस्तोल, सेन्टर फायर पेस्तोल र ५० मिटरको थ्री पोजिसन राइफलमा खेल्नका लागि हतियार नभएको स्वीकारे । ‘हामीसँग १० मिटरमा खेल्न मिल्ने ८–१० वर्ष पुराना एयर पेस्तोल छन् । तर यी तीनवटा विधाका लागि हतियार छैनन्,’ उनी भन्छन्, ‘हतियार नभए पनि आफ्नै देशमा भइरहेको सागमा सहभागिता जनाएका हौं ।’ यस्तो सहभागिताले देशको प्रतिष्ठाभन्दा बेइज्जत बढी भएको बुझाई संघकै कतिपय पदाधिकारीको छ । ‘तयारी नभएपछि खेल्नु हुँदैन,’ ती पदाधिकारी भन्छन्, ‘विदेशीका अगाडि झुक्ने काम भयो ।’
२५ मिटर स्पोर्ट्स पेस्तोल, सेन्टर फायर पेस्तोल र ५० मिटरको थ्री पोजिसन राइफलमा नेपालले दुई दशकपछि प्रतिस्पर्धा गरेको थियो । नेपालमै सम्पन्न सन् १९९९ को सागपछि यी तीन विधामा खेलाडीले भागै लिएका थिएनन् । संघका सदस्य नीरञ्जन रेग्मीले राखेपलाई १० मिटरतर्फ १८–१८ वटा पेस्तोल र राइफल, २५ मिटरमा २४ पेस्तोल, ५० मिटरमा १२ राइफल र ५०–५० हजार थान गोली माग गरेको जानकारी दिए । उनका अनुसार अहिले पुराना ४ वटा एयर पेस्तोल र ६ वटा राइफल मात्रै छन् । ‘द्वन्द्वकालमा हतियार र गोली सेनाको ब्यारेकमा जम्मा गरेका थियौं । धेरै वर्षसम्म राख्दा तिनमा ढुसी परेको हुनसक्छ । पुछेर चलाउनुपर्छ । गोलीको पनि आफ्नै आयु हुन्छ नि,’
रेग्मी भन्छन् ।
अध्यक्ष श्रेष्ठले इक्युप्मेन्ट कन्ट्रोल मेसिन पनि खेल सुरु भएकै दिन राखेपले पठाएको बताए । बन्दुक, जुत्ता, लुगा, चस्मालगायत खेलाडीले प्रयोग गर्ने सामग्रीको जाँच अनिवार्य मानिन्छ । ‘राखेपले भारतमा निर्मित मेसिन अन्तिम अवस्थामा पठायो । ती पनि सेकेन्डह्यान्ड जस्ता छन्,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘हामीले बुझेको भर्पाई भने गरेका छैनौं ।’ खेल आयोजनाका लागि अहिलेसम्म १ लाख ५० हजार रुपैयाँ मात्र पठाएको पनि उनको भनाइ छ । ‘२४ सैं घण्टा बिजुली चाहिन्छ । खेल्दा भोल्टेज तल–माथि भयो भने सिस्टम नै डाउन हुन्छ । जेनेरेटर चलाउँदा दैनिक २० हजार रुपैयाँको त डिजेल नै जान्छ,’ उनले थपे, ‘यस्तो अवस्थामा खेल गराइरहेका छौं । दोष संघलाई दिनुभएन ।’

१३ औं दक्षिण एसियाली खेलवुद

नेपाली तीन बक्सर सेमिफाइनलमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङ शुक्रबार सुरु भएको छ । सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको पहिलो दिन तीन नेपाली खेलाडी सेमिफाइनल पुगेका छन् । सुशील थापामगर, भूपेन्द्र थापामगर र सनिल शाहीले आ–आफ्नो खेल जितेर कम्तीमा कांस्य पक्का गरेका हुन् ।
पुरुष ४९ केजी फ्लाइवेटतर्फ श्रीलंकाका मुटुनाकापा पीजीलाई अंकका आधारमा हराउँदै सुशील सेमिफाइनलमा पुगे । ६० केजीमा सनिलले भुटानका निमा दोर्जीलाई अंककै आधारमा हराए । ६४ केजीको भिडन्तमा भूपेन्द्रले भुटानका दोर्जी वाङ्दीलाई पहिलो राउन्डमा नै आरएससीका आधारमा हराए ।
७५ केजीमा नेपालका दीपक श्रेष्ठ भने भारतका अंकित खतानासँग तेस्रो राउन्डमा नकआउटका आधारमा पराजित भए । ९१ केजीमाथि नेपालका आशिष दुवाडी र महिला ६४ केजीमा पुनम रावल बाई पाएर सोझै फाइनलमा पुगेका छन् । दुवैले कम्तीमा रजत पक्का गरेका छन् । शुक्रबार महिलातर्फ भारतकी कलाइभानी श्रीनिभासनाले पाकिस्तानकी राबिया बाटुललाई आरएससीका आधारमा पराजित गरिन् । ५७ केजी तौलमा भारतकी सोनिया लाथरले बंगलादेशकी समिमा अख्तरलाई पराजित गरिन् ।

१३ औं दक्षिण एसियाली खेलवुद

आर्चरीमा कमजोर सुरुआत

- कान्तिपुर संवाददाता

(पोखरा) - १३ औं दक्षिण एसियाली खेलकुदको आर्चरीको र्‍याङकिङ राउन्डमा नेपालले कमजोर प्रदर्शन गरेको छ । नेपालसहित ४ देशबीच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउन्ड (५० मिटर) एकलतर्फको प्रतिस्पर्धामा नेपालको फितलो प्रदर्शन रह्यो ।
महिला तथा पुरुष एकलतर्फ सहभागी खेलाडीले ७२ एरो प्रहार गरे । एकलतर्फ नेपाली खेलाडी अन्तिम स्थानमा छन् । आर्चरीमा भारत प्रमुख दाबेदार टिम मानिए पनि भारतसहित पाकिस्तान सहभागी छैन । र्‍याङकिङ राउन्डमा भने बंगलादेश पदकको दाबेदारमा प्रस्तुत भएको छ । ओलम्पिकमा सहभागी हुन छनोट भएका बंगलादेशका सना मोहमद रुमन र भुटानकी कर्मासमेत सागमा सहभागी छन् ।
रिकर्भ पुरुषतर्फ बंगलादेशका सना मोहमद रुमन र महिलातर्फ बंगलादेशकै खातुम इति र्‍याङकिङ राउन्डमा अगाडि छन् । र्‍याङकिङमा ७ सय २० पूर्णांक रहेको खेलमा ७२ एरो प्रहार गर्दा रुमनले ६ सय ८६ अंक जोडे । उक्त इभेन्टमा महिलातर्फ भने खातुमले ६ सय ३२ अंक जोडिन् ।
रिकर्भ पुरुषतर्फ भुटानका छिरिङ किन्ले ६ सय ६१ अंक जोड्दै दोस्रो स्थानमा रहे भने श्रीलंकाका सन्जिव डी सिल्भा ६ सय ६० अंक ल्याउँदै तेस्रो स्थानमा रहन सफल भए । महिलातर्फ बंगलादेशकी मोनिरा माहानाज अफ्तर ६ सय २५ अंकसाथ दोस्रो र भुटानकी डेमा सोनमले ६ सय २४ अंक बटुल्दै तेस्रो स्थानमा रहे ।
कम्पाउन्ड पुरुषतर्फ भुटानका दोर्जी तान्डिनले अगाडि छन् । महिलातर्फ बंगलादेशकी बानिक सुस्मिता अग्रस्थानमा छन् । तान्डिन र्‍याङकिङ राउन्डमा ६ सय ९६ अंक जोड्न सफल भए भने सुस्मिताले ६ सय ८५ अंक जोडिन् । पुरुषतर्फ बंगलादेशका राना सोहेल ६ सय ९० अंक जोड्दै दोस्रो र आसिमकुमार दास ६ सय ८८ अंकसाथ तेस्रो स्थानमा रहे । महिलामा बंगलादेशकी सुमा विश्वास ६ सय ४२ अंक तथा श्रीलंकाकी दमयन्ती टक्सिला ६ सय ४५ अंकसाथ तेस्रो स्थानमा छन् । शनिबारदेखि टिमतर्फ सेमिफाइनल र एकलतर्फ क्वाटरफाइनलका खेल हुनेछ ।

१३ औं दक्षिण एसियाली खेलवुद

बिच भलिबलमा प्रदर्शन सुधार

- कान्तिपुर संवाददाता

पोखरा (कास)– अघिल्लो दिन निराशाजनक प्रदर्शन गरेको नेपालको बिच भलिबल टोलीले शुक्रबार सुधारिएको खेल प्रदर्शन गरेको छ । पुरुष र महिलाका २–२ टिमले १३ औं सागअन्तर्गत सबै खेलमा जित
पाएका हुन् ।
फेवा किनारको बाराही मैदानमा नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले बंगलादेशका शेख मोहम्मद साने र हैदर मोहम्मद इमरानको जोडीलाई २१–१५, २१–१८ ले तथा राजु विक र सन्जु शाहको जोडीले बंगलादेशका मोहम्मद मोनिर हुसैन र मोहम्मद अली शाहजहाँको जोडीलाई २२–२०, २१–१६ को सेटमा हराए । महिलातर्फ नेपालका विनीता बुढाथोकी र नेबिका चौधरीको जोडीले माल्दिभ्सका रसिदा अमिनाथ र साफ्ना इब्राहिमको जोडीलाई २१–५, २१–६ ले हरायो ।
नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीले माल्दिभ्सकै जिनिया मोसा फातिमाथ र रुदाइना अमिनाथको जोडीलाई २१–१२, २१–१२ को सेटमा हरायो । खुट्टाको चोटका बाबजुद पनि मनीषाले उत्कृष्ट प्रदर्शन गरिन् ।
बंगलादेशका शेख मोहम्मन र हैदर मोहम्मदको जोडी श्रीलंकाको इन्डिका टिरोन र जयन सनुजाको जोडीसँग १३–२१, १७–२१ ले पराजित भयो । माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडी पाकिस्तानको जस्नब खान र अफाख खानको जोडीसँग १८–२१, १३–२१ ले हार बेहोर्‍यो ।
बंगलादेशका मोहम्मद मोनिर हुसैन र मोहम्मद शाहजहाँ अलीको जोडी श्रीलंकाको प्रदीप अशंका र असेन कुमाराको जोडीसँग १८–२१, ११–२१ ले पराजित भयो । माल्दिभ्सका एडम नसिम र मोहम्मद अलीले पाकिस्तानका मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीलाई २१–१९, २१–१७ ले हरायो ।
पुरुषतर्फ समूह ‘ए’ र ‘बी’ मा श्रीलंकाका टिम ६–६ अंकसहित शीर्षमा छन् । नेपालको दुवै टिम तेस्रोमा छ ।

Page 16
खेलकुद

लुम्बिनी जान चाहन्छिन् सुशान्थिका

- हिमेश

(काठमाडौं) - सन् १९९९ को दक्षिण एसियाली खेलकुद काठमाडौंमा हुँदा धेरैको अपेक्षा थियो, श्रीलंकाली छोटो दूरीकी धाविका सुशान्थिका जयसिंघे पनि आउनेछिन् । तर अन्तिम समयमा उनी नआउने नै भइन् । उनी जतिको एथलिटलाई आफ्नै आँखामा हेर्ने धेरैको सपना पूरा हुन सकेन । त्यसको एक वर्षपछि उनले आफ्नो खेलजीवनकै सबैभन्दा ठूलो सफलता हात पारिन्, सन् २००० को सिड्नी ओलम्पिकको २ सय मिटर दौडमा रजत पदक ।
श्रीलंकाली एथलेटिक्स दक्षिण एसियाली क्षेत्रमै सबैभन्दा बलियो मान्दा हुन्छ । सुशान्थिकाले खेल्दा त्यो विश्वस्तरीय थियो । त्यतिबेला उनी विश्व एथलेटिक्सकै सर्वाधिक चर्चित खेलाडीमध्ये एक थिइन् । उनी प्रायः विवादमा पनि परिरहन्थिन् । यसले गर्दा उनी कहिल्यै चर्चाबाट टाढा रहिनन् । त्यो आठौं दक्षिण एसियाली खेलकुद भएको पनि अब दुई दशकजति भइसकेको छ । त्यति समय अन्तरमा अहिले काठमाडौंमै १३ औं दक्षिण एसियाली खेलकुद चलिरहेको छ ।
यसपल्ट भने उनी काठमाडौं आएकी छिन् । अहिले फरक भूमिकाको मज्जा उठाइरहेकी छन् । उनी कामाडौंमा रहेको श्रीलंकाली एथलेटिक्स टिमकी मेन्टर हुन् । त्यसो भनेको उनको काम ट्र्याक एन्ड फिल्डमा श्रीलंकाली खेलाडीलाई सफलताका लागि भोको बनाउने हो, राम्रो प्रदर्शन दिन प्रेरित गर्ने हो । उनलाई सल्लाहकारभन्दा हुन्छ । श्रीलंकाली खेलकुदले पाएको सबैभन्दा ठूला स्टारमध्ये एक रहेकी सुशान्थिका अहिले पनि उत्तिकै लोकप्रिय छिन् । धेरैका लागि उनी
आदर्श हुन् ।
यस्तोमा श्रीलंकाली टिममा पाएको भूमिकाका लागि उनी शतप्रशितत हकदार छिन् । काठमाडौंमै पनि उनको चमक कम भएको छैन । उनलाई चिन्ने सबै उनको उपस्थितिका लागि खुसी छन् । भन्नैपर्छ, यसपल्टको दक्षिण एसियाली खेलकुदका लागि खेलाडीदेखि पदाधिकारीसम्म जति पनि काठमाडौं आए । त्यसमध्ये सबैभन्दा ठूला स्टार हुन्, यिनै सुशान्थिका । मुसुक्क हाँसेर बोल्ने उनको बानी उस्तै छ । यसरी हाँस्दा उनको आँखामा अनौठो चमक देखिन्छ ।
उनी भन्छिन्, ‘हामी यहाँ नयाँ पुस्ताका श्रीलंकाली एथलेटक्सिका खेलाडी लिएर आएका छौं । अधिकांशका लागि यो उनीहरूको पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसैले उनीहरूका लागि यो सिक्ने समय हो । अहिलेसम्म श्रीलंकाली खेलाडीको प्रदर्शनबाट म सन्तुष्ट नै छु । अब उनीहरू योभन्दा ठूलो अवसरमा आफ्नो खेल प्रदर्शन गर्न सक्नेछन् ।’ उनलाई खेलाडीका लागि दिइएको सुविधामा केही कमी भएकाले त्यसमा भने गुनासो रहेछ ।
तर उनी भन्छिन्, ‘तर म काठमाडौं बसाइमा खुसी छु । यहाँका मानिस निकै मिजासिला छन् । हाँसेर खुसी हुने कुरा गरिरहेका हुन्छन् । सबै सहयोगी पनि छन् ।’ पहिलोपल्ट काठमाडौं आएकी ४५ वर्षीया सुशान्थिकाले भनिन्, ‘म बौद्धमार्गी हुँ र यस धर्ममा विश्वास राख्छु । यसपल्ट समय परिस्थितिले मिलेन, तर म पक्कै पनि कुनै दिन गौतमबुद्धको जन्मभूमि लुम्बिनी जान चाहन्छु । यो मेरा लागि निकै खुसी र गर्वको दिन हुनेछ ।’
सफलताको पर्याय
नेपाली खेलपत्रकारले उनलाई नजिकबाट देख्न पाएको भने सन् २००६ को कोलम्बो सागका बेला हो । त्यतिबेला पनि उनी आफ्नो खेलजीवनको उत्कर्षमै थिइन् । उनलाई उनको स्पर्धामा प्रतिस्पर्धा गर्न सक्ने कोही थिएनन् । उनी १०० र २०० मिटर दौडमा सहभागी हुने गर्थिन्, यसमध्ये सबैभन्दा बढी सफलता २०० मिटरमा प्राप्त गरिन् । सन् १९९४ को हिरोसिमा एसियाली खेलकुदको २०० सय मिटरमा रजत जितेर उनले अन्तर्राष्ट्रिय एथलेटिक्समा पहिलोपल्ट आफ्नो छाप
छाडेकी थिइन् ।
त्यसको एक वर्षपछि जाकार्तामा भएको एसियाली च्याम्पियनसिपमा उनले त्यही स्पर्धामा स्वर्ण जितिन् । १०० मिटरमा भने रजत । सन् २००१ को एसियन च्याम्पियनसिप कोलम्बोमै भएको थियो । उनी दुवै स्पर्धामा स्वर्ण जित्न सफल रहिन् । सन् २००२ को बुसान एसियाली खेलकुदको १०० मिटर दौडमा पनि उनी पहिलो भइन् । त्यसयता उनको लय केही खराब भएको थियो । तर सन् २००७ मा अम्मानमा भएको एसियाली च्याम्पिनसिपमा पनि उनले १०० र २०० मिटर दुवैमा स्वर्ण हात पारिन् ।
आफ्नो खेलजीवनबारे उनको भनाइ थियो, ‘अहिले पछाडि फर्किंदा म आफ्नो खेलजीवनलाई लिएर निकै खुसी छु । मैले सोचेभन्दा धेरै पाएँ जस्तो लाग्छ । मेरो समयमा विश्व एथलेटिक्सको छोटो दूरीमा विश्वलाई चुनौती दिन एसियाली खेलाडी नै थिएनन् । म नै त्यतिबेला माथिल्लो स्तरमा राम्रो प्रदर्शन गर्नसक्ने एक्लो एसियाली खेलाडी थिएँ । मैले जापान र कोरियाली खेलाडीले पाउने जतिको सुविधा केही पनि पाइनँ, तर ठूला सफलता आत्मसात् गरें ।’
विवाद
सन् २००० को सिड्नी ओलम्पिकअगाडि सुशान्थिका र त्यहाँको एथलेटिक्स संघबीचको सम्बन्ध राम्रो रहेन । ठीक त्यही बेला उनीमाथि डोपिङको आरोप पनि लागेको थियो, तर त्यो पुष्टि भने हुन सकेन । आफ्नो राजनीतिक आस्थाका कारण आफूमाथि धेरै अन्याय भएको उनको ठहर थियो । केही समय उनले आफ्नै खर्चले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने काम पनि गरिन् र यसैक्रममा ठूलो आर्थिक समस्याबाट गुज्रिन पनि बाध्य रहिन् ।
सिड्नीमै पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले भनेकी थिइन, ‘मैले श्रीलंकालाई विश्व एथलेटिक्समा धेरैभन्दा धेरै सफलता र पदक दिलाएँ, तर श्रीलंकाली खेल अधिकारीहरूले नै ममाथि अन्याय गरे ।’ केही श्रीलंकाली खेल पदाधिकारीमाथि उनले यौनशोषणको आरोप लगाएपछि त्यसले ठूलो काण्डको रूप लिएको थियो । तर अन्त्यमा एक प्रकारले हार तिनै खेल पदाधिकारीको भयो, किनभने मैदानमा उनले जितेका पदकसामु उनीहरू सबै फिक्का थिए ।
केही समयअगाडि उनले चुनावी राजनीतिमा भाग लिने प्रयास पनि गरेकी थिइन्, तर सफल भने भइनन् । श्रीलंकाका मूल राजनीतिमा दुई धार रहेको पाइन्छ । उनी त्यसमध्ये एक धारको खुला समर्थक हुन् । जति जति बेला त्यो धारले श्रीलंकाली राजनीतिमा प्रभुत्व जमाउने गर्छ, त्यतिबेला सुशान्थिकाका लागि समस्याका दिन सुरु हुने गर्छन् । केही समयअघि मात्र उनले आफूले सिड्नीमा जितेको पदक बेच्ने धम्कीसमेत दिएकी थिइन् । जे जस्तै भए पनि रंगशालाको ट्र्याकमा देखिने सुशान्थिकाको चमकमा कुनै कमी आएको छैन ।

खेलकुद

नेपाललाई रजतसहित ६ पदक

- कान्तिपुर संवाददाता
टेबलटेनिसको मेन्स सिंगलतर्फ कांस्य पदक जितेका नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम वज्राचार्य ।तस्बिर ः कान्तिपुर

(काठमाडौं) - अबका केही वर्ष नेपाली टेबलटेनिस युवा स्टार स्यान्टु श्रेष्ठकै वरिपरि घुम्नेछ । १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत शुक्रबार सम्पन्न टेबलटेनिसमा त्यस्तै छनक देखियो । स्यान्टुकै उत्कृष्ट प्रदर्शन मदतले नेपालले एउटा ऐतिहासिक रजतसहित ६ वटा पदक हात पार्‍यो । आफ्नै घरेलु कोर्टमा निकै सुधारिएको खेल प्रदर्शन गरेको नेपालको जितमा स्यान्टुको योगदान रह्यो । प्रायः सबैजसो विधामा उनको उत्कृष्ट प्रदर्शन देखियो ।
लैनचौरस्थित टेटेहलमा भएको प्रतियोगितामा नेपालले पुरुष टिम इभेन्टमा रजत जित्दा टोलीका सदस्यमा स्यान्टु, पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे, विनेश खनियाँ र संयोग कपाली थिए । भारतले नेपाललाई ३–० को सेटमा पन्छाएर स्वर्ण पदक जित्यो । पहिलो चरणमा माल्दिभ्स र श्रीलंकासँग जित निकालेर क्रममा बंगलादेशसँगको भेट पक्का गरेको थियो नेपालले । तर फाइनलमा भारतसँग पराजित भएपछि घरमै भएको सागमा स्वर्ण जित्नबाट चुक्यो ।
मिक्स डबल्समा भने नेपालले कांस्यमै चित्त बुझाएको छ । स्यान्टु र नविता श्रेष्ठको जोडीलाई भारतले सेमिफाइनलमा पन्छायो । मेन्स डबल्समा कांस्य जित्दा स्यान्टुसँग विनेशले जोडी बाँधेका थिए । भारतसँगको सेमिफाइनल भिडन्तमा उनीहरू निराश बने । टिम इभेन्ट (महिला) मा पनि नेपाल कांस्य पदकमै चित्त बुझाउन बाध्य भयो । नविता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, सिक्का सुवाल र दीक्षा तामाङका लागि भारत नै तगारो बनेको थियो ।
मेन्स सिंगल्सतर्फ नेपालले दुई कांस्य जित्दा स्यान्टु र पुरुषोत्तम वज्राचार्यलाई भारतकै खेलाडीले हराए । शुक्रबार बिहान सेमिफाइनलमा भारतीय खेलाडी अमलराज एन्थोनीसँग स्यान्टु र हर्मित देसाईसँग अनुभवी खेलाडी पुरुषोत्तम पराजित भए । टेबलटेनिसको साग इतिहासमा सिंगल्सतर्फ नेपालका खेलाडीले पहिलोपटक पदक जितेका हुन् । नेपाली खेलाडीले अपेक्षाअनुरूप राम्रो खेलेर खुसी बाँडेको प्रशिक्षक मोहनदास बासुकलाले बताए । ‘भारतको खेल स्तर हाम्रोभन्दा धेरै माथि छ । श्रीलंका, बंगलादेशलगायतका मुलुक पनि यसअघि हामीभन्दा राम्रा थिए । तर यसपटक उनीहरूसँग राम्रो खेल्यौं । सुधारिएको खेल प्रदर्शन गर्‍यौं । रजत पदक र मेन्स सिंगलतर्फ कांस्य जित्नु ठूलो हो,’ उनले भने ।
स्यान्टु साग छनोटको अघिल्लो दिन मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका थिए । ४० दिनको आरामपछि प्रशिक्षणमा फर्किएका उनले आफ्नो प्रदर्शन समग्रमा राम्रो भएको बताए । यसपटकको सागमा टेबलटेनिसतर्फ विभिन्न सात विधामा प्रतिस्पर्धा भएको थियो ।
सन् १९८७ मा भारतको कोलकातामा भएको सागको तेस्रो संस्करणमा पहिलोपल्ट टेबलटेनिस सहभागी भएको थियो । त्यसयता निरन्तर सहभागिता रहँदै आएको छ । सन् १९९१ को इस्लामाबाद सागमा भने महिलाको टिम इभेन्टमा नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।

खेलकुद

गोपीचन्दले फिर्ता ल्याएको स्वर्ण

- कान्तिपुर संवाददाता
५००० मिटर दौडमा प्रतिस्पर्धा गर्दै गोपीचन्द पाकीं । स्वर्ण जितेपछि कांस्य विजेता हरि रिमालका साथ गोपीचन्द (बायाँ) । तस्बिर ः केशव थापा/कान्तिपुर

(काठमाडौं) - दशकअघि खोसिएको स्वर्ण पदक फिर्ता ल्याएका गोपीचन्द पार्की दशरथ रंगशालाको ट्र्याकमा निकैबेर रमाए । यसका लागि उनको संकल्प रहेछ, ‘त्यो पदक म जसरी पनि फिर्ता ल्याउँछु ।’ गोपीले त्यो संकल्प शुक्रबार पूरा गरेका छन् ।
दक्षिण एसियाली खेलकुदको ५ हजार मिटर दौडमा नेपालले जितेको स्वर्ण खोसिएको थियो । त्यो स्वर्ण कोलम्बो साग (२००६) मा राजेन्द्र भण्डारीले जितेका थिए । त्यतिबेला राजेन्द्र योसँगै ३ हजार मिटर स्टिपलचेजका पनि स्वर्णधारी हुन् । दुर्भाग्य, डोपिङका कारण राजेन्द्रले जितेको त्यो स्वर्ण खोसिएको थियो । ५ हजार मिटर दौडको राष्ट्रिय कीर्तिमान उनै राजेन्द्रको नाममा छ । जुन उनले २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ०४.८९ सेकेन्डमा पूरा गरेका थिए ।
गोपीको मनमा केही वर्षदेखि त्यही विषयले जरो गाड्यो, ‘कुनै दिन त्यो पदक अब मैले जित्नुपर्छ ।’ त्यही संकल्पमा उनी अगाडि बढिरहे । ‘आज देशले गुमाएको त्यो पदक फिर्ता ल्याएको छु । मेरो संकल्प पूरा भएको छ । समग्रमा यो मेरो १४ वर्षदेखिको तयारी थियो,’ आफ्नै भूमिमा भइरहेको १३ औं सागमा शुक्रबार ५ हजार मिटरको विजेता भएपछि उनले जितको रहस्य यसरी खोले ।
गोपीचन्दले रंगशालाको ट्र्याकलाई साढे १२ फन्को लगाउँदा १४ मिनेट ५४.२० सेकेन्ड लगाएका थिए । भारतीय सुनील दवारले १४ मिनेट ५५.२१ सेकेन्डसाथ रजत पदक जिते । नेपालकै हरिकुमार रिमाल १४ मिनेट ५७.०५ सेकेन्डसाथ कांस्य जित्न सफल भए । हरिले १२ औं साग (गुवाहाटी, २०१६) मा पनि यो इभेन्टमा कांस्य नै जितेका थिए ।
प्रतिद्वन्द्वीहरूले गोपीलाई धेरैपल्ट अप्ठ्यारोमा पार्ने प्रयास नगरेका होइनन् । ‘इन्डियन र श्रीलंकन पनि टफ थिएँ । उनीहरूमा के थियो भन्दा दौड जित्ने हो । तर यहाँ अल्टिच्युड भएका कारण फास्ट कुदेर हुँदैन भन्ने रणनीतिमा थिए । म पनि के कम । मैले पनि १४ वर्षदेखि तयारी गरिरहेको छु । ५ किमि जित्नु छ । फिनिसिङमा जित्नु छ । उनीहरूलाई टक्कर दिएर जित्नु छ । त्यो कुरा मेरो मनमा खेलिरह्यो । जे जे मैले चाहिरहेको थिएँ, त्यही भइराखेको थियो । लास्ट ल्याप ५२ (सेकेन्ड) मा गर्नुपरे पनि त्यो जित्न सक्छु भन्ने विश्वास थियो,’ उनले दौडको फेहरिस्त सुनाए ।
रणनीति गाह्रो रहेको उनको बुझाइ छ । प्रतिद्वन्द्वीले बाटो छेकिदिने, जिकज्याक गरिदिने, बक्समा पारिदिने पनि गरे । ‘इन्डियनले गोल्डमेडल गुमाउन चाहिरहेका थिएनन् । तर मलाई मेडल खोस्नुपरेको थियो । खोसिएको मेडल फेरि जित्नुपरेको थियो । मेरो मनमा त्यो चलिरहेको थियो । लास्टको ११० मिटर साउथ एसियाका जुनसुकै खेलाडीलाई जित्न सक्छु भन्ने एउटा विश्वास थियो । भलै जित्न नसकुँला तर मेरो विश्वास भने थियो ।’
राष्ट्रले गुमाएको, एथलेटिक्स संघले गुमाएको त्यो पदकलाई आफूले जसरी पनि फिर्ता गर्ने अठोट लिएको उल्लेख गर्दै उनले भने, ‘नेपाली जनता र दर्शकको चित्तदुखाइ म बिर्साउन चाहन्थें त्यो मेडल जितेर ।’
दौडप्रतिको आफ्नो समर्पणलाई उनी पुष्टि गर्दै थिए । ‘म दौडनकै लागि विभागमा भर्ना भएँ,’ सशस्त्र प्रहरी बल (एपीएफ क्लब) का यी धावकले सुनाए । धनगढी गौरीपुरका यी धावक २०६७ सालमा सशस्त्रमा जागिरे भएका थिए ।
०६३ मा काठमाडौं राष्ट्रपति रनिङ सिल्ड खेल्न आउँदाको घटनालाई लिएर गोपीचन्दलाई विभाग छिर्ने हुटहुटी चलेको थियो । उनी कैलालीको भवानी माविबाट रनिङ सिल्ड खेल्न काठमाडौं आए । दौडमा भाग लिए । सफलता हात लागेन । उनलाई लाग्यो, आर्मी, पुलिसका खेलाडीले मात्र सफलता पाउँदा रहेछन्, बाहिरकाले सफलता पाउन गाह्रो देखें । ‘त्यही भएर म पनि त्यसतर्फ आकर्षित भएँ । ०६७ सालतिर सशस्त्रमा भर्ना भएँ । त्यहाँ गएपछि पनि सजिलै कहाँ क्लबमा जान पाइयो र । प्रतियोगिताहरू पनि त्यति हुन्थेनन् । कसरी खेलाडी बन्नु । खप्तडमा थिएँ । काठमाडौं आएपछि मात्र मैले क्लबबाट खेल्न थालें,’ ३० वर्षे धावकले सुनाए ।
गोपीचन्द म्याराथन धावक हुन् । झन्डै आधा दर्जन म्याराथनमा सफलता भेट्टाएका छन् । १८ औं एसियाली खेलकुदमा भाग लिएका उनले मलेसियन च्याम्पियनसिपको १५ सय र ५ हजार मिटरमा रजत पदक जितेका छन् । सातौं र आठौं राष्ट्रिय खेलकुदमा उनले ५ हजारमै स्वर्ण जितेका थिए । आठौंमा उनको टाइमिङ १४ मिनेट ४४.०३ सेकेन्ड थियो । जबकि अहिले स्वर्ण जितेभन्दा त्यो राम्रो टाइमिङ थियो । तर हाते टाइमिङ हो त्यो । १० हजारमा भने तेस्रो भएका थिए । उनले १२ औं सागमा १० हजार मिटरमा छैटौं स्थान
भेटेका थिए ।
गोपीले गुमेको पदक फिर्ता त गरे । अब यी स्वर्णधारी धावकको अर्को लक्ष्य के छ त ? भन्छन्, ‘म्याराथनमै फर्कन्छु ।’
किन त ? कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको इच्छा पूरा गर्न । दक्षिण एसियाली खेलकुदका तेजस्वी धावक हुन् वैकुण्ठ । उनले सन् १९८७ को तेस्रो संस्करणमा राखेको म्याराथनको कीर्तिमान अहिलेसम्म तोडिएको छैन । २ घण्टा १५ मिनेट ०३ सेकेन्डको उक्त कीर्तिमान तोड्ने गोपीचन्दको लक्ष्य छ ।
उनले सुनाए, ‘वैकुण्ठ गुरुको इच्छा भनेको आफ्नै देशका खेलाडीले कीर्तिमान तोड्नुपर्छ भन्ने छ । म त्यो पूरा गर्न चाहन्छु ।’
घरेलु प्रतियोगितामा गोपीचन्द र कांस्य जितेका आर्मीका धावक हरि एकअर्काका शत्रु नै हुन् । शुक्रबार दुवैले एउटै विधाबाट पदक थापे । दुईले पदक जित्दाको अनुभवबारे गोपीले भने, ‘एकअर्कालाई हौसला भयो । हरि ट्रेनिङ पार्टनर हुन् । फिनिसिङका अब्बल केटा पनि । हाम्रो प्रदर्शनले विपक्षीलाई पनि कुन प्रतिद्वन्द्वी पछ्याउने हो भन्ने दुविधा भयो ।’
अपेक्षाअनुसार आफ्ना खेलाडीले मध्यम दूरीमा पदक जितेकामा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ र अर्का प्रशिक्षक धनीराम चौधरी पनि खुसी देखिन्थे । गुरुङले भने, ‘हाम्रो राम्रो भनेको मिडिल डिस्ट्यान्समा हो । त्यसमा हामीले पदक अपेक्षा गरेका थियौं । त्यो पाएका छौं ।’ घरेलु भूमि, अल्टिच्युड र यसपल्टको लामो समयको तयारीले गर्दा पदक जित्न सकेको उनले बताए । मध्यम दूरीका पूर्वकीर्तिमानी धावक रहेका चौधरी दुवैले पदक जित्नेमा आफूहरू विश्वस्त भएको सुनाए । ‘आफ्नो गतिभन्दा अरूको गति हेरेर फलो गर्‍यौं भने सफल भइन्छ भन्ने थियो । फिनिसिङमा जसरी नि डोमिनेट गर्नुपर्छ भनेका थियौं । चुनौती भारत हो । केटाहरूले राम्रो गरे,’ उनले भने ।

Page 17
कोसेली

किस्सागोपाल

संगीत
- भूपेन्द्र खड्का

स्वरसम्राट् नारायणगोपालको २९ औं स्मृति दिवस मंसिर १९ गते मनाइयो । उनको स्वरमा गाइएका गीत जति लोकप्रिय छन्, उनीबारे उनका समकालीन साथीहरूले सुनाउने गरेका किस्सा पनि त्यत्तिकै रोचक छन् । एक गायक गीतमा मात्र बाँच्दैन, विभिन्न स्वरूप र मिथमा पनि बाँच्छ । प्रस्तुत छ, गुच्चा खेल्ने उमेरदेखिका नारायणगोपालका दौंतरी गायक–संगीतकार प्रेमध्वज प्रधानका सुनौला गोपाल–किस्सा ।

बेला–कुबेला सम्झिने नाम हो, नारायणगोपाल । दुःखमा, सुखमा, हाँसोमा, रोदनमा । झरीमा, बादलमा । साँझमा, बिहानमा ।
स्वरसम्राट्को सम्मान मलाई दिनुपर्दैन भन्दाभन्दै उनी आज हामी सबैमाझ स्वरसम्राट्को छवि बनाएर गुन्जिएका छन् । नारायणगोपाल जति राम्रा संगीतका ज्ञाता–गायक–संगीतकार थिए, त्योभन्दा बढी अन्य विषयका जानकार, जिज्ञासु र चतुर मानुष थिए । खासमा कस्तो मानिसको संगत गर्दा केमा कति नाफाघाटाको हिसाब हुन्छ भन्ने उनलाई राम्रोसँग थाहा थियो । उनी राम्रो शब्द छान्न गीतकारका घर–अफिससम्म चहार्थे र डायरीका पाना च्यातेरसमेत ल्याउँथे । नारायणगोपालले डायरीका पाना च्यातेविरुद्ध कोही बोल्न सक्दैनथे किनभने उनको गायकीले सबै डोमिनेट थिए । अझै उनी पहलमानको नामबाट पनि परिचित भैसकेका थिए, । त्यो पहलमानी उनको एकल कार्यक्रममा पनि देखिइसकेको हो । त्यसैले सर्वगुण सम्पन्न यस्ता व्यक्तिदेखि कोही किन समीप–दूर नहोस् !
उनी मासु, रक्सी, फुटबल, तास, चुरोट आदिका पारखी थिए, त्यो पनि जगजाहेर छ । उनको सेन्स अफ ह्युमर त यस्तो गज्जब थियो कि मृत्युको अन्तिम समयमा वीर अस्पतालमा छटपटाउँदै गर्दा पनि यसरी कुरा गर्थे :
नारायणगोपाल टेलिफोनमा, ‘ए, विश्वम्भर ! राजा वीरेन्द्रको फोन नम्बर पत्ता लगाऊ न, कुरा गर्नुपर्‍यो !’
‘किन र दाइ, के पर्‍यो त्यस्तो ?’ विश्वम्भर प्याकुरेलको जवाफ !
‘हेर न, अब उनी पनि संवैधानिक राजा भए, काम खासै छैन ! म पनि बिरामी, अब तास खेलेर बस्नुपर्‍यो !’
यो एउटा उदाहरण मात्रै हो । यस्ता र यति स्मृतिले मात्रै नारायणगोपाललाई सम्झेर पुग्दैन । यहाँ खासमा नारायणगोपालको गायकीको खासियत पर्गेल्न पनि खोजिएको होइन । यस युगका संगीतका महान् ज्ञातालाई पनि त्यो हम्मेहम्मे पर्छ । यहाँ नारायणगोपालबारे धेरैले (सम्भवतः कसैले पनि) थाहा नपाएका केही कुरा उनीजस्तै उनका अर्का लजालु बाल र युवा सखा प्रेमध्वज प्रधानले बताएका सम्झना रसिक तवरमा जस्ताको तस्तै पस्कने काम मात्रै गरिँदै छ । म विसं २००८ सालदेखि ०२८ सालसम्मको नारायणगोपालको सम्झनामा तपाईंलाई विचरण
गराउँदै छु ।

गुच्चेगोपाल
विसं २००७/०८ सालतिर प्रेमध्वज प्रधान मछिन्द्रबहाल केलटोलतिर गुच्चा खेल्न जान्थे । उनको उमेरले गुच्चा खेल्न छाडेर संगीतलाई समात्न थाल्दै गर्दा राममान तृषित भेडासिंहमा ‘नेपाल कलाकार परिवार’ नामक संस्था खोलेर कलाकारलाई गीत गाउन लगाउने स्टेज कार्यक्रम आयोजना गर्थे । त्यहीं थियो— व्यापारी लक्ष्मण श्रेष्ठको रुवा र धागो पसल । उनी चिया, खाजा खुवाउने व्यक्ति पनि थिए । भेडासिंहको रुवा र धागो पसलमा एक दिन प्रेमध्वज प्रधानलाई लक्ष्मणले एक जना नयाँ मान्छेसँग परिचय गराइदिए— यी हुन् ‘सानोबाबु’ भन्दै । प्रेमध्वजले ‘ए...’ मात्रै भने । उनको हातमा धूलैधूलो थियो, खल्तीमा गुच्चा थिए । त्यहाँ नारायणगोपाल काठको फलेक ठटाएर गीत मात्रै गाउँदैनथे, मस्तसँग गुच्चा पनि खेल्थे । लक्ष्मणले ‘उसले गीत खुब राम्रो गाउँछ’ भन्दा नारायणगोपालले काठको फलेकमा हातले तबलाजस्तै बजाउँदै मन्नाडेको गीत गाएर आफ्नो गायकीको परिचय दिएका थिए । नारायणगोपाल जति लजालु थिए, त्योभन्दा चौपट प्रेमध्वज थिए । उनले त्यहाँ आफ्नो गायकीको परिचय नारायणगोपाललाई दिन सकेनन्, भलै लक्ष्मणले एक–एक गिलास चिया भने दुवैलाई खुवाए । त्यसपछि नारायणगोपाल र प्रेमध्वज साथी बने । ‘सानोबाबु’ सँगको त्यो चिनजानले ‘नेपाल कलाकार परिवार’ को भाडाको घरका दुइटा कोठामा भाडाको माइक र स्पिकर जोडेर ‘मेरो आवाज कस्तो सुनिन्छ ?’ भन्दै एक–अर्कालाई आ–आफ्नो आवाजमा गीत सुनाउने अवस्थासम्म पुर्‍यायो ।

अम्मलीगोपाल
नारायणगोपाल चुरोटका अम्मली थिए भन्ने सबैलाई थाहा छ । तर, उनी कसरी त्यस्ता लती बने भन्ने थाहा नहुन सक्छ । मछिन्द्रबहाल केलटोलमा हरेक साँझ भजनमण्डलीले भजन गाउँथ्यो । मनोरञ्जनको कुनै साधन नभएको त्यो समय के बाल, के वृद्ध– सबै जना त्यो भजन–साँझमा जम्मा भैहाल्थे । नारायणगोपाल पनि त्यसमा सहभागी हुन्थे— तबला बजाउँथे, भजन गाउँथे । त्यो भजन मण्डली चिलिममा भरेर कक्कड खान्थ्यो । वातावरण धूवाँको कोलाजमा रङ्मगिन्थ्यो । नारायणगोपाल पनि त्यही मण्डलीबाट एक सर्को, दुई सर्को हुँदै चुरोटको तलतलले छटपटाउने भएका थिए । उनलाई त्यो कक्कडको सर्को तनाउने तबलावादक ‘भाइदाइ’ भन्ने थिए ।
चुरोटको तलतल लाग्यो भने नारायणगोपाल प्रेमध्वज प्रधानको घरमा जान्थे । किनभने प्रेमध्वजकी आमा प्राणदेवी पनि चुरोटकी अम्मली थिइन् । प्राणदेवी र नारायणगोपालको कुरा खुब मिल्थ्यो । पालैपालो चुरोट तान्दै गीत र गायिकीका कुरा गर्थे उनीहरू । किनभने प्राणदेवी पनि रेडियो नेपालकी (२००७ साल) गायिका र संगीतकार थिइन् ।
नारायणगोपालले भारतको बडौदामा शास्त्रीय संगीत सिक्दासिक्दै त्यो संगीत कक्षा छाडेर नेपाल फर्केका थिए । त्यसको एउटै मुख्य कारण थियो, चुरोट । संगीत स्कुलको छात्रावासमा चुरोट खान बन्देज थियो । कडा अनुशासनमा बस्नुपर्थ्यो । तर, नारायणगोपाल चुरोटको तलतलले छटपटाउँथे । हठी नारायणगोपाल जसरी पनि चुरोट खाएरै छाड्थे । शौचका समयमा शौचालयमा चुरोट तान्थे । त्यो गन्ध फैलिएर जताततै पुग्थ्यो । कैयौंपटक पक्रिए पनि । यो कुरा उनले प्रेमध्वज प्रधानलाई एचएमभीमा गीत रेकर्ड गराउन जाँदा कलकत्तामा सुनाएका थिए । सुगरले समातिसकेपछि पनि उनी दैनिक २५ खिल्लीसम्म चुरोट खान्थे । पहिले–पहिले दिनको ५५ खिल्लीसम्म खान्थे । रेडियो नेपालबाहिरको पोखरीको डिलमा बसेर खुट्टा हल्लाउँदै चुरोट तानिरहेका नारायणगोपाल भेटिन्थे । टुँडिखेलपट्टि फर्केर दायाँ हातमा गुदपाक र बायाँ हातमा चुरोट समाइरहेका नारायणगोपाल पनि देखिन्थे ।

हिसाबगोपाल
‘नेपाल कलाकार परिवार’ को आयोजनामा नारायणगोपालले २०१३ सालमा भेडासिंहमा पहिलोपटक स्टेजमा हार्मोनियम बजाएर नेपाल भाषाको गीत गाएका थिए :
‘गनच्वाक खंसा मयजु, केलेंमिखाँ स्वमाते न्हाँला’
(अचानक भेट्दा आँखाले नक्कल पारी नहेर्नू है)

यो गीतका रचनाकार र संगीतकार त्यतिबेलाका संस्कृत र नेपाल भाषाका गुरु ईश्वरानन्द श्रेष्ठाचार्य थिए । टोलमा उनको उपनाम ‘विद्वान् मास्टर’ थियो । नेपाल भाषाको गीत गाउँदा नारायणगोपालको उच्चारण ‘खास’ सुनिन्थ्यो ।
एक दिन प्रेमध्वज प्रधान भेडासिंहमा यत्तिकै हल्लिरहेका थिए । अचानक नारायणगोपालसँग भेट भयो । नारायणगोपालले भने, ‘मलाई हिसाब गाह्रो लाग्छ, त्यसैले सेन्टअप हापें, पढ्न छाडिदिएँ ।’ प्रेमध्वजले आफूले नि त्यसैगरी पढाइ हापेर फेरि पद्मोदय स्कुलबाट एसएलसी पास गरेको सुनाएपछि नारायणगोपाल पनि ठमेलको जेपी हाइस्कुल भर्ना भए र एसएलसी पास गरे । त्यही मेसोमा २०१६ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिने भए । उनीसँग गीत भने थिएन । उनले प्रेमध्वजसँग आग्रह गरे । प्रेम–माणिकको जोडीले उनलाई गीत बनाइदियो । राममान तृषितको शब्दमा ‘पक्षीको पंखमा धर्तीको याद दियो’ बोलको गीत नारायणगोपालले दुई घण्टा सिके, किलागलको राममानको भाडाको कोठामा । त्यतिबेला प्रेमध्वजले अमेरिकन लाइब्रेरीमा जागिर खान थालिसकेका थिए । नारायणगोपाल आइपुगे र भने, ‘त्यो तिम्रो साइकल देऊ त !’ प्रेमध्वज प्रधानकै ‘रेली साइकल’ लिएर रेडियो नेपाल गए र स्वर परीक्षा दिए । ४ बजे फर्केर आए । ‘स्वर परीक्षा कस्तो भयो ?’ भन्दा ‘ठीकै’ भन्ने उत्तर दिए । केही दिनपछि रेडियो नेपालको स्वर परीक्षा पास भएको खबर दिन नारायणगोपाल फेरि प्रेमध्वजकै अफिस पुगेका थिए ।
बडौदामा पढ्न जाँदा पाएको छात्रवृत्ति जोगाएर नारायणगोपालले ७ हजार रुपैयाँ जम्मा पारेका थिए । एक दिन प्रेमध्वजलाई भनेछन्, ‘एउटा कुरा सोधूँ, भूतबंगलामा साढे ३ रोपनी जग्गा साढे ८ हजारमा दिन्छु भनेको छ । किनौं कि के गरौँ ?’ प्रेमध्वजले तत्कालै जग्गा किन्ने सल्लाह दिए । अहिलेको महाराजगन्जलाई नारायणगोपाल ‘भूतबंगला’ भन्थे । उनले त्यतिबेला किनेको जग्गामा अहिले पनि नारायणगोपालको घर छ । त्यही घरलाई ‘नारायणगोपाल संगीत कोष’ बनाइएको छ । त्यतिबेला नारायणगोपालले गरेको हिसाबचाहिँ सही थियो ।

पहलमानगोपाल
भेडासिंहमा बिहान–बिहान दूध बेच्न आउनेहरूले किन हो कुन्नि नारायणगोपाललाई जिस्क्याउँथे रे ! त्यो क्रम २–४ दिन चलेपछि नारायणगोपाललाई झोंक चलेछ र दुई जनाको गालामा थप्पड हानेछन् । प्रेमध्वजसँग भेटेर भनेछन्, ‘मलाई सधैं जिस्क्याउँथे, आज देब्रे–दायाँ बजाइदिएँ । के म पहलमान नै भएँ कि क्या हो ?’ त्यसपछिको जीवनमा उनी पहलमानको नामबाट पनि चिनिए । जिमसमेत गरे । नारायणगोपाल कम बोल्थे । बोल्न थालेपछि आफू कहिल्यै हाँस्दैनथे तर अरूलाई मूर्च्छा पर्ने गरि हँसाउँथे । २०१५ सालमा नारायणगोपाल र प्रेमध्वज लरी चढेर भक्तपुर हुँदै सिन्धुपाल्चोकको चौतारा जाँदै थिए । प्रेमध्वजका काका भक्तध्वज प्रजापरिषद्बाट संसद्को निर्वाचनमा उम्मेदवार बनेका थिए ।
भक्तपुर कमलविनायाकको चुरौटेको घरमा बास बसेर भोलिपल्ट उनीहरू नगरकोट हुँदै इन्द्रावती पुगे । र, डुंगा तरेर भीमटार हुलाक हुँदै सिपाडाँडा पुगेर भात खाँदै थिए । एउटा तमाखु खाइरहेको बूढो मानिसले निकै खोकिरहेको रहेछ । त्यो बूढाले खोकेको शैलीमा दुई हातलाई बन्दुक बनाएर नारायणगोपालले पनि नक्कल गरेर देखाए । उनी अरूको शैली र आवाजको यस्तोसम्म नक्कल गर्थे कि कहिलेकाहीं सँगै हिँड्दा चराको आवाज आउँथ्यो, वरिपरि हेर्‍यो, चरा हुँदैनथ्यो, चरा–आवाजमा कराउने नारायणगोपाल आफैं हुन्थे । प्रेमध्वजका काका सांसद उठेका थिए । उनले चुनाव हारे । भोट हाल्ने दिन नारायणगोपाल र प्रेमध्वजले पहलमानको काम गरेका थिए । लाइन मिलाएका थिए । मान्छेलाई व्यवस्थित बनाएका थिए । १५ दिन चौतारा बस्दा बेखुलाल काकाकहाँ हार्मोनियम बजाएर भजन गायकीको पहलमानी पनि उनले देखाए ।

गम्भीरगोपाल
नारायणगोपाल गीत छनोट र गायकीमा गम्भीर थिए । २०१७ सालमा प्रेमध्वज जमलमा डेरा बस्थे । एक दिन अचानक नारायणगोपाल उनको डेरामा आए र भने, ‘मैले एउटा लय हालेको छु, सुन्ने हो ?’ प्रेमध्वज सुन्न राजी भए । उनले ‘स्वर्गकी रानी, मायाकी खानी नजाऊ तर्केर’ बोलको गीत सुनाए । प्रेमध्वजले अन्तराको ‘गोरा गुलाबी गाला’ मा ‘हो हो गाला हो गाला’ लय थपिदिएका थिए । उनले प्रेमध्वजको सल्लाहबमोजिम त्यसलाई रेकर्ड पनि गरे ।

रुन्चेगोपाल
नारायणगोपालले पेमलालाई दार्जिलिङबाट भगाएर काठमाडौँ ल्याइसकेका थिए । एक दिन प्रेमध्वजको घरमा नारायणगोपाल आइपुगे र भने, ‘मैले बिहे गरेँ, उनको नाम पेमला हो । हेर्ने हो पेमलालाई ?’ प्रेमध्वजले ‘हुन्छ’ भने । केही घण्टापछि प्रेमध्वज र उनकी आमालाई भेटाउन पेमलालाई लिएर आए नारायणगोपाल । उनले प्रेमध्वजलाई ‘पेमला कस्ती लागिन् ?’ भनेर सोधे । प्रेमध्वजले जवाफ दिए, ‘राम्री छ ।’ प्रेमध्वज जमलको डेराबाट बागबजार सरिसकेका थिए— घर बनाएर । बागबजारको घरमा अचानक नारायणगोपाल आइपुगे । रुन्चे स्वरमा उनले भने, ‘पेमलाको पाठेघरको देब्रे पाइपमा बच्चा बसेछ । पेमला बेहोस भई । पाठेघर सफा गर्दा पनि बेहोस भई । डाक्टरले अब बच्चा हुँदैन भनेको छ ।’ यति भनिनसक्दै नारायणगोपाल आवाज आउने गरी रुन थाले । प्रेमध्वजले उनलाई थुमथुम्याए, त्योभन्दा बढी उनकी आमाले ढाडस दिइन् । केही महिनापछि उनी त्यसरी नै प्रेमध्वजको घर आए । कम बोल्थे । चियाको चुस्कीसँगै उनका आँखा टिलपिलाइसकेका थिए । प्रेमध्वजले ‘किन रोएको’ भनेर सोध्दा बाल्यकालका दिन र आफ्ना आनीबानी याद आएर रोएको उनले बताए ।प्रेमध्वज भन्छन्, ‘नारनको देहावसान भैसकेपछि शवमा पुष्पगुच्छा चढाउँदा र आर्यघाटमा बिदाइ गर्दा म पनि रोएँ ।’

बा वैद्यगोपाल
प्रेमध्वज भन्छन्, ‘नारनका बा आशागोपाल गुरुवाचार्य प्रसिद्ध सितारवादक मात्रै थिएनन्, नामूद वैद्य पनि थिए । मेरी आमाले सधैं मलाई मेरो धातुस्थान कमजोर छ भन्थिन् । त्यसैले मैले नारनका बासित दुई महिनाको फरकमा सुवर्णभस्मको दुई मात्रा २०/२० रुपैयाँमा किनेर खाएको छु ।’

कोसेली

जोन लेननको शून्य कार्ड

लिजेन्ड
- रोशन शेरचन

विश्वप्रसिद्व ब्यान्ड बिटल्सका फ्रन्टम्यान जोन लेननलाई, ८ डिसेम्बर सन् १९८० मा उनकै प्रशंसक मार्क डेभिड चापमानले गोली हानी हत्या गरेका थिए । संस्थापनको सधैं विपक्षी, कलात्मक गुणवत्ताप्रति सधैं ढृढ, शान्ति अभियन्ता उनको संगीत नेपालको सन्दर्भमा पनि प्रासंगिक लाग्छ । नेपाली गीत ‘गाउँगाउँबाट उठ’ आन्दोलनका लागि गरिएको आह्वान गीत हो भने जोन लेननको ‘इम्याजिन’ परिकल्पनाको गीत हो, जहाँ क्रान्ति सफल भएपछिको अवस्थालाई शब्दचित्रमार्फत दर्साइएको छ । लेनन–स्मृति दिवसका सन्दर्भमा यस अंकमा प्रस्तुत छन् दुई लेख ।

 

विश्वप्रसिद्व ब्यान्ड बिटल्सका फ्रन्टम्यान जोन लेननले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘बिटल्स जिसस क्राइस्टभन्दा बढी लोकप्रिय छ ।’ ‘गड’ शीर्षकको एउटा गीतको त पंक्ति नै छ, ‘जिससप्रति मेरो विश्वास छैन ।’ यो भनाइ सार्वजनिक भएपछिका दिन बिटल्सका लागि भयानक अप्ठ्यारा थिए । चौतर्फी विरोध, चेतावनी र धम्कीको सामना गर्नुपर्‍यो बिटल्सले । एउटा गायकले आफ्नो मनमा लागेको कुरा इमानदारीपूर्वक बोल्दा समाजले ईश्वरनिन्दा भन्यो । त्यस अभिव्यक्तिपछि बिटल्सको दुर्दशा सुरु भयो भन्नेहरू पनि छन् । जीवित हुँदै मिथक बनिसकेका बिटल्समाथि अनेकौं किस्सा रचिएका छन् । आकस्मिक नियमितताजस्तो त्यस ब्यान्डको प्रभावका केही छिटा मसम्म पनि आइपुगे ।
बिटल्सबारे मैले पहिलोपटक थाहा पाएको गण्डकी बोर्डिङ स्कुलको विद्यार्थी हुँदा हो । सुनेको हुँ भन्दा अझ उपयुक्त होला । उतिबेला त्यो स्कुल नेपाल आदर्श माध्यमिक विद्यालयको नामले चिनिन्थ्यो ।
यो पैँतीस, छत्तीस सालतिरको कुरा हो । सिनियर दाइहरू अब्बा, बिटल्स, बोनिएम् र जोन डेन्भरको कुरा गर्थे । देवी गुरुङ, गिरी दाइको नाम अझै याद छ— हङकङ, सिंगापुर लाहुरेका छोराहरू । उनीहरू होस्टेलमा पश्चिमा सांगीतिक ब्यान्डका अनेकन् भंगिमाका पोस्टरहरू टाँस्थे । गिटार बजाएर अंग्रेजी गीतहरू गाउँथे । फुच्चे हामीहरू खुब दंग पर्थ्यौं ।
स्मृतिमा ताजै बसेको बिटल्सको एउटा पोस्टर छ– आबी रोडको, जहाँ बिटल्सका चारै जना सदस्य जेब्रा क्रसिङबाट सडक पार गरिरहेका छन् । त्यो खासमा एल्बमको कभर हो । बिटल्स त्यतिबेला मेरा लागि अब्बा, बोनिएम, स्यान्ट्यानाजस्तै कुनै अर्को ब्यान्ड मात्र थियो । २०४३ सालमा भने बिटल्सको संगीतसँग थोरै नजिकबाट परिचित भएँ । त्यसबखत म हेटौंडामा रेन्जर कोर्स पढ्थेँ । चितवनका अशोक खाँडसँग मित्रता भयो । उनीसँग एउटा वकम्यान थियो । हेटौंडाकै एउटा पसलबाट बिटल्सको क्यासेट किनेँ– ‘लभसङ’, भोल्युम एक र दुई । अशोक हँसाउने र फरासिला खालका व्यक्ति थिए । मचाहिँ अलि अन्तर्मुखी । स्वभाव नमिल्ने तर हामीचाहिँ मिल्ने । म सायद वकम्यान सुन्ने लोभले नजिकिएँ कि ? मसँग पैसा हुँदैनथ्यो । अशोक मेरा लागि ‘सन म्यागेजिन’ पनि किनिदिन्थे । त्यसमा पश्चिमा संगीत र ब्यान्डबारे प्रशस्तै सामग्री हुन्थ्यो । राप्तीको किनारमा ढुंगामाथि बसेर उनको वकम्यानमा बिटल्सका प्रेमगीत खुब सुनेँ ।

किशोरवय, सिरसिरे बतास चल्ने राप्ती किनार र बिटल्सको सुमधुर गीतमा म त्यति स्वप्निल भएको त्यही कालखण्डमा हो । ‘एस्टर्डे’, ‘आई विल फलो द सन’, ‘हेयर देयर एन्ड एभ्रिवेयर’, ‘समथिङ’, ‘द लङ एन्ड विन्डिङ रोड’, ‘आई निड यू’ जस्ता गीत सुन्दा म अर्कै लोकमा विचरण गर्थेँ । अहिले सोच्दा त्यो स्वप्निल व्यक्ति अरू नै कोही हो कि जस्तो लाग्छ । अध्ययन सकेपछि जिल्ला वन कार्यालय काठमाडौंमा रेन्जर पदको नियुक्ति लिएँ । तलब बुझेको हरेक दिन क्यासेट किन्थेँ । त्यसैमध्ये बिटल्सको ‘फ्याब फोर’ पनि एक थियो, तेज गतिको रक एन्ड रोल गीत– ‘ट्विस्ट एन्ड साउट’ जस्ता ।
लेननको कालजयी रचना ‘इम्याजिन’ पहिलोपटक कहिले सुनेँ ? हेक्का छैन । माइकल चन्दले रेडियो नेपालमा चलाउने ‘म्युजिकल आवर’ मा हो कि ? त्यो रचना त वर्षौंपछि पढ्न पाएँ । लेननको स्वप्निल स्वर, विश्वजनिन अर्थ र पियानोको अद्भुत संगीतले करोडौं श्रोताको मन जितेको छ । मानवजाति लोप नभएसम्म सायद ‘इम्याजिन’ मर्दैन । ‘इम्याजिन’, कविताको तहमा उक्लेको गीत हो । लेननको आफ्नै जीवन दृष्टिकोण हो त्यो । उनी स्वप्नद्रष्टा थिए । गीतमार्फत नै उनले राज्यविहीन राज्यको कल्पना गरे । एउटै संसारको कल्पना थियो त्यो, जहाँ कुनै धर्म, कुनै स्वर्ग–नर्क, कोही भोको मान्छे र कसैको व्यक्तिगत सम्पत्ति हुँदैन । उनी अन्तर्राष्ट्रियवादी थिए । यति बेजोड युटोपियन गीत धेरै रेर्कडै भएका छैनन् होला । उनी शान्ति अभियन्ता पनि थिए । अमेरिकी सरकारले भियतनाममा थोपरेको युद्वको विरोधमा उनी सडकमै ओर्लिए । उनले गाए :
कल्पना गरौँ, कुनै राष्ट्रहरू हुने छैन
त्यसो गर्न असम्भव पनि छैन
मर्नु र मार्नुपर्ने कारणहरू हुने छैन
हुने छैन कुनै धर्म
कल्पना गरौँ, सबै मानिस
शान्तिपूर्वक बाँचिरहेका हुनेछन्

तिमी भनौला, म फगत स्वप्नदर्शी हुँ
तर, म एक्लो छैन
आशा छ, तिमी पनि एक दिन सामेल हुनेछौ
त्यसपश्चात् संसार एक हुनेछ
बिटल्सका अर्का हस्ती हुन्— पल मक्यार्टने । बिटल्सका प्रायः गीत लेनन र मक्यार्टनेले लेख्थे । उनीहरूले दर्जनौँ कालजयी गीत लेखेका छन् । सयौं गीत करोडौँ श्रोताको हृदयमा उनीहरूले चाल नपाईकनै थपक्क बसेका छन् । ‘एस्टर्डे’, ‘इम्याजिन’, ‘लेट इट बी’, ‘हे जुड’, ‘हार्ड डेज् नाइट’, ‘कम टुगेदर’ जस्ता गीत सुन्दा उनीहरू ठूला कवि–मनीषी लाग्छन् । उच्च कल्पनाशीलता, उपयुक्त शब्द चयन र सुन्दर संगीत संयोजनले ती गीत विशिष्ट बनेका छन् । गिटारिस्ट जर्ज ह्यारिसन अल्पभाषी थिए । त्यसैले उनी ‘क्वाइट बिटल्स’ को रूपमा चिनिन्थे । रिंगो स्टारको भूमिका ड्रमरमै सीमित रह्यो ।



बिटल्सको लोकप्रियताको पछाडि कडा मिहिनेत र अभ्यास छ— यस्तो धारणा राख्ने व्यक्ति म्यालकम ग्लाडवेल हुन्, न्युयोर्करका लेखक र अन्वेषक । ‘आउटलायर’ मा ग्लाडवेलको तर्क छ, ‘कुनै पनि विषयमा पारंगत हुन करिब दस हजार घण्टा बराबर अभ्यास आवश्यक पर्छ ।’ बिटल्सले दस हजार घण्टा अभ्यास गरेको थियो । विश्वयुद्वको भग्नावशेषबाट ब्युँतँदै ह्याम्बर्गले ग्लामरस छवि बनाउँदै थियो । ह्याम्वर्गको नाइट स्ट्रिप बारमा गाउन बिटल्सलाई प्रस्ताव आयो । पहिचानका निम्ति संघर्ष गरिरहेको बिटल्स इङ्ल्यान्डबाट ह्याम्बर्गतिर हान्नियो । बिटल्स त्यतिन्जेल गुमनाम ब्यान्ड थियो । बिटल्सले साँझ साढे आठ बजेदेखि एक घण्टाको सेट र आधा घण्टाको ब्रेकपछि बिहानको दुई बजेसम्म ननस्टप प्रस्तुति दिन्थ्यो । यो क्रम सन् १९६० अगस्त देखि १९६२ डिसेम्बरसम्म अटुट रूपमा चल्यो । ह्याम्वर्गमा बिटल्सको चर्चा फैलिँदै गयो । उनीहरूले त्यहाँ सयौं प्रस्तुति दिए । संगीतका विभिन्न जनारा अध्ययन गरे । पूर्ववर्ती बडी होली, लिटल रिचर्ड, चक बेरी, कार्ल पर्किङ्स र ल्यारी विलियम्सका कभर भर्जनहरू गरे । आफ्नो लय नभेट्टाउन्जेल विभिन्न प्रयोग गरिरहे । यो कालखण्ड बिटल्सको इतिहासको पूर्वपीठिका हो, जहाँ उनीहरू आफ्नो धरातल निर्माणमा व्यस्त थिए ।
ह्याम्वर्गको सुरुआती दिनमा उनीहरू बाम्बी किनोको मञ्चपछाडिको कोठामा सुत्थे । लेनन सम्झन्छन्, ‘सायद त्यो स्टोर रुम थियो, कंक्रिट वाल भएको तर रोगन नगरिएको । रुम हिटिङ सिस्टम नभएकाले कोठा चिसो थियो, दुईवटा बन्क बेड राखिएको । बिहान दुई बजेसम्म हामी स्टेजमै हुन्थ्यौं । हाम्रो निद्रा बिहानै नजिकको सिनेमा हलबाट आउने ध्वनि वा शौचालयमा कसैले पिसाब फेरेको आवाजले खल्बलिन्थ्यो ।’ ग्लाडवेलको विचारमा निरन्तरको स्टेज प्रस्तुतिले बिटल्सको प्रतिभालाई निखार्‍यो । बिटल्सको सांगीतिक यात्रामा ह्याम्बर्गले पुर्‍याएको योगदान सम्झिँदै लेननले लेखेका छन्, ‘म लिभरपुलमा जन्में, तर ह्याम्बर्गर्मा हुर्कें ।’
यही कालखण्डमा बिटल्सको पहिलो सिंगल गीत ‘माई बोनी’ रेकर्ड भयो । यो रेकर्ड सुनेपछि ब्राएन एप्स्टेन प्रभावित भए । बिटल्सलाई ब्राएनले सन् १९६१ डिसेम्बरमा भेटे । ब्राएन आफ्ना पिताको ‘नेम्स संगीत स्टोर’ का म्यानेजर थिए । पछि उनी बिटल्सका म्यानेजर बने । बिटल्सको इभेन्ट व्यवस्थापन गर्ने, रेकर्ड कम्पनीसम्म पुग्ने र ब्रान्डिङको जिम्मेवारी ब्राएनले सम्हाले । बिटल्सको लाइनअपलाई नै चुस्त बनाए । बिटल्सबाट ड्रमर पेट बेस्टलाई बिदा गरियो र सट्टामा रिंगो स्टार ल्याइयो । अर्का सदस्य स्टुअर्ट अध्ययनका निम्ति बाहिरिइसकेका थिए । त्यसपछि बिटल्सका सदस्यको लामो कपाल र दाह्री पालेको ल्याङफ्याङे हुलिया फेरियो । सट्टामा क्लिन सेभ्ड, छोटो कपाल, पाइन्ट सुट र टाई लगाएको भद्र युवाको छविमा बिटल्सका सदस्य प्रस्तुत भए । बिट्रिसमाझ बिटल्सको जेन्टलमैन छविको जादु मज्जाले चल्यो । आफ्नै भूमिमा भने बिटल्स सन् १९६३–१९६४ ताका मात्र चर्चित बन्यो ।
इङ्ल्यान्डमा बिटल्सको पहिलो एल्बम थियो– ‘प्लिज, प्लिज मी’, जुन सन् १९६३ फेब्रुअरीमा रिलिज भयो । ३० हप्तासम्म त्यो एलबम अटुट रूपमा एक नम्बरमा रह्यो । ब्राएनले बिटल्सलाई अमेरिकामा उतार्ने योजना बनाए । अमेरिकी रेकर्ड कम्पनीहरू बिटल्सका गीतप्रति अनुदार थिए । अमेरिकीले बिटल्सका गीत खासै रुचाउँदैनन् भन्ने धारणा थियो । भयो ठीकविपरीत । १९६४ फेब्रअरी ७, अमेरिकामा बिटल्स पहिलोपटक ओर्लियो । अमेरिकी टीभी शोका प्रस्तोता, एड सुलिभनले बिटल्सलाई आफ्नो कार्यक्रममा प्रस्तुत गरे । ९ फेब्रुअरीमा, पहिलो टीभी लाइभ कार्यक्रम भयो । करिब सात करोड तीस लाख व्यक्तिले साँझ आठ बजे बिटल्सको लाइभ हेरे । ५६ वर्षअघि, त्यो संख्या अकल्पनीय थियो । त्यसको पर्सिपल्ट, पहिलो कन्सर्ट वासिङ्टन कलिसियममा भयो । अमेरिकी दर्शकले बिटल्सलाई हृदयमै राखे, काँधमै उचाले । युवतीहरूले पागलसरी पछ्याए । युवायुवती लठ्ठ मात्र भएनन्, कन्सर्टले मास हिस्टेरियाकै रूप लियो । मानिसहरू रुन, चिच्याउन र ढल्न थाले । त्यो सांस्कृतिक घटनालाई अभिव्यक्त गर्ने शब्द बन्यो— बिटलमेनिया । मेनियाकको अर्थ हुन्छ— पागलपन । इङ्ल्यान्डले विश्वका धेरै राष्ट्रलाई उपनिवेश बनाएको सन्दर्भमा बिटल्सले अमेरिकामा जमाएको प्रभावलाई दिइएको नाम पनि रोचक थियो— ब्रिटिस इन्भेसन ।
साठी र सत्तरीको दशकमा विश्वलाई प्रभाव पार्ने अनेकौं राजनीतिक र सांस्कृतिक घटना घटे । त्यसबाट संवेदनशील लेनन प्रभावित नहुने कुरै भएन । अमेरिकी गायक बब डिलनले प्रतिरोधी गीतमार्फत संस्थापनलाई चुनौती दिएका थिए । भियतनाम युद्व सुरु भयो । अमेरिकी युवाहरूमा अमेरिकी सरकारप्रति आक्रोश बढ्दै थियो । सिभिल राइट मुभमेन्ट र प्रतिरोधी आन्दोलनले तीव्रता लियो । यस्तै पृष्ठभूमिमा, सन् १९६९ मा ऐतिहासिक उडस्टक सांगीतिक उत्सव भयो, जहाँ विश्व भ्रातृत्व, प्रेम र शान्तिका पक्षमा धुरन्धर जिमी हेन्ड्रिक्स, पण्डित रविशंकर, जेनिस जोप्लिन, सीसीआर, जेफरसन एयरप्लेन, जोन बेज, स्यान्ट्यानालगायतले आफ्ना संगीत प्रस्तुत गरे ।
काउन्टर कल्चरको रूपमा हिप्पी संस्कृति यसै समयमा मौलायो । युद्धविरोधी, पर्यावरणप्रेमी र पूर्वीय अध्यात्मवादतिर रुझान राख्ने हिप्पीमाझ गाँजा, अफिम र ड्रग्स लोकप्रिय बन्यो । बिट कविहरू गिन्सबर्ग, लअरेन्स फर्लिघेट्टी, ग्यारी सिन्डरहरूले यसै कालखण्डमा अपरम्परागत शैलीको बलमा परम्परालाई चुनौती दिए । अभिव्यक्ति स्वतन्त्रता, झेन दर्शन, ज्याज र पेन्टिङको प्रभावमा बिट कविहरूले सिर्जनाको दायरालाई फराकिलो र अन्तरसम्बन्धित बनाए । यसैबेला बिटल्सले ‘रिभल्वर’ र ‘सेन्ट पेपर लोन्ली हर्ट क्लब्स ब्यान्ड’ नामक साइकाडेलिक एल्बम निकाले जसमा स्वप्नदृश्य, विशृंखल विम्ब र अतियथार्थिक काव्य अनुभव गर्न सकिन्छ । कलकत्तामा हङ्ग्री जेनेरेसनको प्रादुर्भाव भयो । शरद देवडाको ‘कलेज स्ट्रिटका मसिहा’ पढ्दा त्यो विषय विस्तृतमा थाहा लाग्छ । त्यसबाट नेपाल पनि अपवाद रहेन । लेखक अभि सुवेदी र सुरेश किरणका लेख पढ्दा शान्त काठमाडौं उपत्यकासमेत त्यसबेला तरंगित बनेको थाहा लाग्छ । झ्वछें विम्ब नै बन्यो, हिप्पी संस्कृतिको । कवि ईश्वर वल्लभका गद्य लेख र लेखक नारायण ढकालको निबन्ध ‘गिन्सबर्ग, बुटपालिस र खापीभित्रको नगरा’ मा बिट कविहरूको प्रभावका बाछिटा अनुभूत गर्न सकिन्छ ।
सोह्र–सत्र वर्षअघि पोखरा बस्दा लेखक भूपिन, तीर्थ गुरुङ र प्रकाश थापासँग बिटल्स, बब डिलन र लेननबारे कुराकानी गरेको सम्झन्छु । माछापुच्छ्रे– अन्नपूर्ण ल्यान्डस्केपमा त्यस्ता बातचित गर्नु कम्ता आनन्ददायी कुरा होइन । साहित्यको हुटहुटीमा हेलिँदै हामी कला र संगीतसम्मै पुग्थ्यौं । ‘इम्याजिन’ सुनेपछि त्यो बेजोड रचना भएको भूपिनले बताएका थिए । तीर्थ त उसै पाश्चात्य संगीतको पारखी । लेनन हाम्रो मानसचेतनाको ठूलो अंश बन्दै गइरहेको अनुभव हुन्थ्यो । रानीपौवामा डेरा गरी बस्दा प्रकाश थापासँग परिचय भयो । उनको कोठामा सधैँ देखिने वस्तु थियो– गिटार । उनी लेननको फ्यान थिए । कुँडहर, माटेपानी, अर्घौंगुम्बातिर बाइकमा घुम्न निस्कन्थ्यौं । अहिले सम्झिँदा सहचार्यले धनी भएको चेतनागत अनुभव गर्छु ।
बिटल्स ब्यान्ड पूर्वीय अध्यात्मवादमा रुचि राख्थ्यो । महर्षि महेश योगीको सान्निन्ध्यमा बस्न ब्यान्डका सदस्य भारतसम्म आए । अतिशय चर्चा र तामझामको दुनियाँबाट मुक्त हुन, महर्षिको सान्निध्य सायद सबभन्दा उपयुक्त विश्राम चौतारी थियो । उनीहरूले त्यहाँ ट्रान्सेनडेन्टल ध्यान सिके । पूर्वीय रहस्यवादको आस्वाद बिटल्सका केही गीतमा भेटिन्छ । सितारको गज्जबको धुन नर्बेजियन उडमा सुन्न सकिन्छ । राप्ती किनार सम्झनापटमा आउँदा यही सितारको धुन पृष्ठभूमिमा बिस्तारै सर्दै जान्छ । लेनन–प्रभावको अधीनस्थ भई मैले पोखराबाट ‘भिजन’ शीर्षकको म्यागेजिनमा लेनन–विषयमा लेखेको कविता काठमाडौंमा पठाएँ । कविता छापियो । प्रमाणपत्र पनि दिएको थियो । डेरा सर्दा म्यागेजिन हरायो । अहिले सोच्दा कविता खासै स्तरीय होइन । तर, कवितासँगै छापिएको गोलो चस्मा लगाएको लेननको तस्बिर भने असाधारण रूपले आकर्षक थियो ।
लेननको जीवनमा सर्वाधिक प्रभाव पार्ने घटना योको अनोसँगको भेट थियो । सन् १९६९ मा उनीहरूले विवाह गरे । लेनन योकोको प्रेममा चुर्लुम्मै डुबेका थिए । योको लेननकी पत्नि मात्र थिइनन्, मदर फिगर नै थिइन् । १९६७ अगस्त २७ मा ड्रग ओभरडोजको कारण म्यानेजर ब्राएनको निधन भएपछि भने बिटल्स विभाजनको संघारमै पुग्यो । ब्राएनको मृत्युपछि एल्बमको रोयल्टी र सर्वाधिकारको निम्ति नेम्स कम्पनीसँग बिटल्सको असमझदारी चुलियो । ब्राएनले प्रारम्भमा बिटल्सका चारै सदस्यलाई आजन्म साप्ताहिक रूपमा पचास पाउन्ड पाउने गरी ज्यालामा सम्झौता गर्न प्रस्ताव गरेका थिए । जर्ज ह्यारिसन त्यसबेला महिनाको पच्चीस पाउन्ड कमाउँथे, जुन उनका पिताको भन्दा दस पाउन्ड बढी थियो । बिटल्सका सदस्यले आफ्नो मूल्य साप्ताहिक रूपमा पाइने पचास पाउन्डभन्दा बढी हो भन्ने आकलन गरी प्रस्ताव अस्वीकार गरे । लेननले सन् १९७० मा ‘द रोलिङ स्टोन’ सँगको अन्तर्वार्तामा भनेका छन्, ‘ब्राएनको मृत्युसँगै बिटल्सको विभाजनको प्रारम्भ भयो । हामीबीच समस्या थियो, अब त्यसको समाधान झनै टाढिएको छ ।’
लगातारको कन्सर्ट र अन्तर्वार्ताले लेनन थाकेका थिए । एउटै बान्कीका गीत रचनाले दिक्क भएका थिए । सदस्यबीच प्राथमिकता फेरिएको थियो । कतिको तर्क छ, विभाजनको एउटा कारण योको हुन् । रेकर्डिङ स्टुडियोमा लेनन योकोलाई लिएर पुग्थे, जुन अन्य सदस्यलाई मन परिरहेको थिएन । फेरिँदो प्राथमिकता, अहम, टकराव र रोयल्टीको असमझदारीले बिटल्स अन्ततः अप्रिल १९७० मा औपचारिक रूपमै टुक्रियो ।
बिटल्स टुक्रिएको दस वर्ष बितिसकेको थियो । लेननको सोलो क्यारियर झन् सफल बनेको थियो । ‘इम्याजिन’, ‘डबल फेन्टासी’, ‘वोमन’ र ‘युद्वविरोधी’ एन्थम बनेको ‘गिभ पिस अ चान्स’ यही कालखण्डको उत्कृष्ट सिर्जना हो । शान्ति अभियानलाई लेननले थप तीव्रता दिए ।
डिसेम्बर ८, १९८० । म्यानहाटनस्थित अर्पाटमेन्टअगाडि लेनन र योको आफ्नो गाडीतर्फ जाँदै थिए । मार्क डेभिड च्यापमनले ‘डबल फेन्टासी’ एल्बम लेननतिर तेर्स्याएर अटोग्राफ मागे । एल्बममा हस्ताक्षरपछि लेननले सोधे, ‘यति नै हो तिमीलाई चाहिएको ? (इज दिस अल यु वान्ट) ? च्यापमनले जवाफ फर्काएनन् । बरु हाँसिरहे । अकस्मात् च्यापमनले रिभल्वर झिकेर लेननलाई गोली हाने । लेननको हत्या उनकै अग्घोर प्रशसंकबाट भयो । लेननको हत्याको खबरले सारा विश्व स्तब्ध बन्यो । त्यो संगीतको इतिहासकै सबभन्दा कालो दिन बन्यो ।
भनिन्छ, प्रहरी च्यापमनलाई गिरफ्तार गर्न घटनास्थल पुग्दा त्यहाँ केही पनि घटना नभएजसरी च्यापमन जेडी स्यालिन्जरको कल्ट क्लासिक ‘क्याचर इन द राई’ पढिरहेका थिए । रिपोर्टर जिम गेन्सलाई दिएको अन्तर्वार्तामा च्यापमनले भनेका छन्, ‘ऊ उपन्यासको किशोर पात्र होल्डन काउलफिल्ड हो— विद्रोहचेत र ऐकान्तिकताले बेस्मारी लखेटिइएको, समाजसँग असम्बद्व र आडम्बरलाई हदैसम्म घृणा गर्ने ।’
आफूलाई ‘जिससभन्दा बढी लोकप्रिय’ भन्ने लेननको धारणासँग च्यापमनको आक्रोश थियो । ‘गड’ शीर्षकमा लेननले गाएका थिए, ‘म बाइबललाई विश्वास गर्दिनँ, जिससमा मलाई विश्वास छैन ।’ कट्टर इसाई र धर्मभीरु प्रशसंकले बिटल्सको व्यापक विरोध गरे । एल्बम जलाए । कन्सर्ट बहिष्कार गरे । ज्यान मार्ने धम्की दिए । च्यापमन त्यहीमध्येका एक थिए, जो बिटल्सको संगीतप्रति जति हुरुक्क थिए, उति नै गीतको कन्टेन्टबाट तर्सन्थे । विश्वभरि नै हत्याको असाधारण आघात देखेपछि विख्यात ‘टाइम’ म्यागेजिनले २२ डिसेम्बरको अंकमा लेननमाथि कभर स्टोरी छाप्यो । शीर्षक थियो— जब संगीत मर्‍यो (ह्वेन द म्युजिक डाइड) । कभरमा कपाल पालेको हाइनेक लगाएको आकर्षक तस्बिर छ— लेननको ।
लेननको प्राथमिक शिक्षा डोभडेल र माध्यमिक तहको पढाइ क्वारी ब्याङ्क स्कुलबाट भएको थियो । सन् १९५६ को लेननको स्कुलको रिपोर्टकार्ड रोचक छ, जसबाट उनको स्वभाव र रुझान बुझ्न सकिन्छ । धर्म विषय पढाउने शिक्षकले लेखेका छन्— उनी असफलताको बाटोतिर अग्रसर छन् । फिजिक्स शिक्षकको मूल्यांकनमा उनी बहकिँदै छन् । विचित्र भने संगीत विषयको रिपोर्ट कार्ड छ । कार्ड खाली छ । त्यसमा कुनै फ्रतिव्रिया छैन । कत्रो विसंगति ! विश्वको एक अमर संगीतज्ञको संगीत रिपोर्ट–कार्ड शून्य छ । शून्यको फैलावट मात्र छ ।
युट्युबको युग छ । गल्ली संसारको एउटा दिनचर्या फुर्सदको समयमा बिटल्स र लेनन सुन्नुहुन्छ । यदाकदा च्यापमनको अवस्थाबारे जानकारी लिन्छु । पछिल्लो अन्तर्वार्तामा आजन्म कारावास जीवन बिताइरहेका च्यापमनमा पश्चात्ताप भाव गहिरिँदै गएको देखिन्छ, ‘जब विश्वभरिका मानिसको लेननप्रतिको सम्मान र प्रेम भरिएको पत्रहरू पढ्छु, म पश्चात्तापको भुमरीमा फस्दै जान्छु । मेरो हृदयमा त्यसबखत सैतानले बास गरेको थियो । मेरो पश्चात्ताप मेरो मृत्युपछि पनि सकिने छैन ।’
बिटल्सका करोडौं प्रशंसकझैँ मेरा पनि विगत छन् । बिटल्स सुन्दा स्मृतियान चढेर पोखरा र हेटौंडा पुग्छु । नोस्टालजिक हुन्छु । आजभोलि आफैँलाई सोध्छु पनि— नेपालको आर्थिक–सामाजिक–सांस्कृतिक–राजानीतिक सन्दर्भमा लेननको संगीतलाई कसरी बुझ्ने ? हामीसँग पनि महान गीत छन् । ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ जस्ता सिंगो पुस्तालाई प्रभावित पारेको राजनीतिक गीत छ । ‘गाउँगाउँबाट उठ’ आह्वान गीत हो भने लेननको ‘इम्याजिन’ भिजन गीत हो, जहाँ क्रान्ति सफल भएपछिको परिदृश्यलाई शब्दचित्रमार्फत दर्साइएको छ ।
संस्थापनको सदा विपक्षी, कलात्मक गुणवत्तासँग कहिल्यै सम्झौता नगर्ने र युटोपियन चेतनाको केन्द्रीयताले नै सायद लेननको संगीत हाम्रो सन्दर्भमा पनि प्रासंगिक बनेको छ । हाम्रै राल्फामा बब डिलनहरूको प्रभाव थियो । के लेननको पनि प्रभाव थियो ?

Page 18
कोसेली

हाम्रो आफ्नै बिटल्समेनिया

संगीत
- हिमेश

जतिबेला इन्टरनेट थिएन, चौबीसै घण्टा बज्ने टीभी च्यानल पनि सुरु भएका थिएनन्, त्यतिबेला पनि काठमाडौंमा ‘द बिटल्स’ उत्तिकै लोकप्रिय थियो, । यस ब्यान्डका फ्रन्टम्यान जोन लेनन मन पराउने धेरै थिए । अहिले सोच्दा कसरी यस्तो सम्भव भयो भन्ने लाग्न सक्छ । त्यो समयमा पनि बिटल्सको लोकप्रियतालाई भाषा, राजनीति र भौगोलिक सीमाले रोक्न सकेन । सन् ६० र ७० को बीचमा यो ब्यान्ड सक्रिय रह्यो ।
ब्यान्डले पूरै विश्वमा तहल्का मच्चाइरहेका बेला हामी मात्र कसरी अलग हुन सक्थ्यौं र ? बिटल्सले पस्केका गीतमा पागलजस्तै हुनुलाई ‘बिटल्समेनिया’ नै भनिन्छ । एक प्रकारले पश्चिमेली संगीत मन पराउनेलाई यो ब्यान्डले मोहनी लगाएको थियो । उताको भाषामा ‘हिस्टेरिया’ भन्दा पनि ठीक हुन्छ कि ? लिभरपुलको यो अंग्रेजी रक ब्यान्ड अमेरिकामा जसरी लोकप्रिय भयो, त्यसका लागि छुट्टै शब्दावली नै बनाइएको छ र त्यो हो, ‘ब्रिटिस इन्भेसन इन यूएस’ ।
यसलाई भने अमेरिकामा बेलायतले गरेको आक्रमणभन्दा हुन्छ । लेननले ठीक भनेका थिए, ‘हामी जिसस क्राइस्टभन्दा पनि बढी लोकप्रिय छौं ।’ यो खुबै विवादास्पद भनाइ रह्यो । धेरैले यसलाई मन पराएनन् पनि । तर, यो साँचो भने थियो । बिटल्स जब खुबै सक्रिय थियो, त्यतिबेला उसको प्रसिद्धिलाई उछिन्न सक्ने अरू कोही थिएन । मान्छे यो ब्यान्डलाई हदको सीमा नाघेर
माया गर्थे ।
लगभग चार दशकले छुन लागेको छ, लेननको मृत्युको । विशेषतः हाम्रोतिर बिटल्स र लेनन आफैँ पनि कति लोकप्रिय छन् भनी नाप्ने कुनै औजार छैन । तर, हामी आफैं महसुस गर्न सक्छौं । आफ्नै भोगाइले भन्छ, ‘म बिटल्स प्रशंसक हुँ’ भन्दा गर्व गर्नेको संख्यामा कमी छैन । सन् सत्तरीतिर काठमाडौंमा त्यस्तो पुस्ताका युवा पनि देखिन थालेको थियो, जसले हेयरस्टायल र लगाउने लुगा ब्यान्डका सदस्यकै जस्तो हुन्थ्यो । भनौं, काठमाडौंका सडकमा लेननजस्तै भएर निस्कने पनि केही थिए ।
यस्तै एक युवा हुन्— काठमाडौं पोस्टका पत्रकार कमल तुलाधर । दरबारमार्गमा हुर्के–बढेका तुलाधरले युवा उमेरमै विदेश जाने अवसर पाए । त्यहाँबाट फर्कंदा उनी बिटल्सका कडा फ्यान भइसकेका थिए । उनीसँग कुरा गर्नुपर्छ, पुराना दिन सम्झेर खुसी हुन्छन् । त्यतिबेला उनीजस्तै अरू पनि थिए । जतिबेला सन् नब्बेतिर काठमाडौंका घरघरमा क्यासेट प्लेयर थियो, टेलिभिजन बज्न सुरु भएको थियो, त्यतिबेला पनि बिटल्स र लेनन खुबै लोकप्रिय थिए ।
सन् १९८६ को विश्वकप फाइनल एनटीभीले ‘डिले’ प्रसारण गरेको थियो । त्यसअघि नेपाली दर्शकलाई टीभीमै तानेर राख्न एनटीभीले एकपछि अर्को अंग्रेजी गीत देखाएको थियो । अनुमान गर्न सकिन्छ, अंग्रेजी गीत लोकप्रिय भएर नै यस्तो काम भएको होला । त्यतिबेला काठमाडौंमा क्यासेट किन्नका लागि दुई प्रमुख स्थान थिए, एउटा न्युरोडको ‘टिक एन्ड टक’ । अर्को असन झ्वाबहालतिरको पीआरटी क्यासेट सेन्टर ।
त्यसमध्ये ‘टीक एन्ड टक’ त आफैँमा लिजेन्ड थियो, जसले ती दिनमा काठमाडौंवासीलाई अंग्रेजी गीत सुनाउने बानी बसाल्यो । विशालबजारको सबैभन्दा अगाडिको भागमा यो पसल थियो, जसको मुख ठ्याक्कै भूगोलपार्कसँग आमनेसामने थियो । यो ‘आइकन’ पसल थियो, जुन क्यासेट युगजस्तै हराइसकेको छ । ठीक त्यही बेला रेडियो नेपालमा ‘द म्युजिकल आवर’ भनेर कार्यक्रम चल्थ्यो । प्रत्येक शनिबार आउने त्यस कार्यक्रमका सञ्चालक थिए, उनै मीठो स्वरका धनी माइकल चन्द ।
पछि उनीसँग कुराकानी हुँदा भन्ने गर्थे, काठमाडौंको सभागृहमा समयसमय अंग्रेजी गीतका कार्यक्रम हुन्थ्यो । त्योबेला पनि काठमाडौंमा ब्यान्ड बनाएर गीत गाउने चलन सुरु भइसकेको थियो । यी ब्यान्डले प्रस्तुत गर्ने अधिकांश गीत बिटल्सकै थिए । अझ सके, लेननकै । त्यसको धेरैपछि एनटीभीमै भूषण दाहालले ‘सन्डे पप’ नामको कार्यक्रम चलाए । प्रत्येक आइतबार आउने त्यो कार्यक्रममा उनले एकपछि अर्को अंग्रेजी गीत पस्के, त्यसमा पनि बिटल्सका गीत पर्ने नै भयो ।
यो समय ‘एमटीभी’ को थियो र त्यतिबेलाको पुस्तालाई ‘एमटीभी जेनेरेसन’ पनि भनिन्थ्यो । ‘द म्युजिकल आवर’ र ‘सन्डे पप’ सुन्दा–हेर्दा के अनुभव हुन्थ्यो भने त्यतिबेला काठमाडौंमा ‘हेभिमेटल’ संगीत खुबै लोकप्रिय थियो । चन्द र दाहाल आफैँले पनि आफ्ना दर्शकलाई सोधेको सम्झन्छु, ‘किन काठमाडौंका पश्चिमेली संगीत पारखीलाई हेभिमेटल मन पर्छ ?’ मैले यही प्रश्न तिनै पीआरटी क्यासेट सेन्टरका दाइलाई सोधेको थिएँ । नाम थाहा भएन, ती दाइ पनि क्यासेट बेच्दाबेच्दै अंग्रेजी गीतका विज्ञ भइसकेका थिए । उनी भन्थे, ‘हाम्रोमा सबैभन्दा पहिला सुन्ने भन्ने नै हेभिमेलट हो । केही समय हेभिमेटल सुनेपछि उसको रुचिमा परिवर्तन हुन थाल्छ । यसरी हेभिमेटल सुनेको पुस्ताको अन्तिम गन्तब्य रक संगीत नै हो । ढिलो हुन सक्छ, अथवा चाँडै तिनले अन्त्यमा सुन्ने भनेकै बिटल्सजस्ता ब्यान्डको गीत हो ।’ जतिबेला यो पुस्ता बिटल्स सुन्थे, त्यतिबेला उनीहरूले भन्थे, ‘हो, वास्तविक गीत त यी पो हुन्, सरल शब्द, ठ्याक्कै बुझिने, कर्णप्रिय स्वर र लय दुवै ।
अहिले र्‍याप र आर एन्ड बीका गीत सुन्ने धेरै छन् । हुन सक्छ, हेभिमेटल गीत सुन्नेको पनि कमी भएको छैन । तर, यी पुस्ताका श्रोता पनि कुनै न कुनै दिन बिटल्सका गीतमा ठोक्किनेछन् र हुनेछन्, यो ब्यान्डका सदावहार प्रशंसक । फेरि त्यही ‘सन्डे पप’ मै फर्कने हो भने त्यसमा एउटा प्रश्न सोधिन्थ्यो र त्यसको उत्तर दिनेले केही पुरस्कार पाउने गर्थे । यस क्रममा सोधिएको पहिलो प्रश्न थियो, ‘बिटल्सले रेकर्ड गरेको पहिलो गीत कुन हो ?’
चिठ्ठीको माध्यमबाट यसको हजारौं उत्तर आए र त्यो गीत थियो, ‘लभी मी डु’ । भनिरहनु पर्दैन, त्यतिबेला ‘गुगल’ थिएन । तर, यो ब्यान्ड मन पराउनेलाई यसको ठीक उत्तर पनि त थाहा थियो । काठमान्डुमा बिटल्स र लेनन कति लोकप्रिय थिए भन्ने एउटा राम्रो उदाहरण यो पनि हुन सक्छ । लगभग २० वर्षअगाडि नेपाल भाषामा ‘नेवाः बिटल्स’ नाममा एल्बम निस्केको थियो । यसमा ब्यान्डकै गीत नेपाल भाषामा गाइएको छ । यो एल्बम झन्डै १० हजारभन्दा बढी बिक्री भएको थियो भनिन्छ, त्यो पनि केही दिनमै ।
त्यो एल्बमको कभरमा लेननसँगै ब्यान्डका चार सदस्य काठमाडौं हनुमानढोकाको कुमारी घरअगाडि हिँडिरहेको देखाइएको छ । खासमा यो ब्यान्डको चर्चित एल्बम एबी रोडको कभरकै नक्कल हो । त्यसमा पनि ब्यान्डका सदस्य यसरी नै जेब्रा क्रसिङमा लहरै बाटो काटिरहेका हुन्छन् । त्यो ‘नेवाः बिटल्स’ नेपाल भाषाको संगीत क्षेत्रमा सबैभन्दा बढी बिक्री भएको एल्बममा पर्छ । अब भनिरहनु पर्दैन, बिटल्स मन परेर त यो एल्बम पनि किन्ने धेरै भए । हुन पनि, हाम्रो आफ्नै बिटल्समेनिया पनि गज्जब छ । र, लेननलाई हार्दिक श्रद्धाञ्जली पनि ।
twitter : @himeshratna

Page 19
कोसेली

‘युवाहरूको गीत’ को यादमा

क्लासिक
- खगेन्द्र संग्रौला

याङ मो (१९१४ अगस्त २५– १९९५ डिसेम्बर ११) क्रान्तिकारी एवं सिर्जनशील चिनियाँ लेखक हुन् । सन् १९५८ मा प्रकाशित  ‘द सङ अफ युथ’ याङ मोको चर्चित उपन्यास हो । १९५९ मा चिनियाँ क्रान्तिको दसौँ वार्षिकोत्सवको अवसरमा यस उपन्यासमा आधारित फिल्म पनि सार्वजनिक भयो । साठी–सत्तरीको दशकमा यो उपन्यास खुब पढियो । र, बजारले यसलाई  ‘बेस्ट सेलर’ को संज्ञा दियो । यसलाई नेपालीमा २०४१ सालमै अनुवाद गरेका थिए— लेखक खगेन्द्र संग्रौलाले । याङ मो स्मृति दिवसका सन्दर्भमा संग्रौलाको अनुवाद अनुभूति :

 

सै जुनीमा औतार फेरिरहनेहरूका लागि स्मृतिहरू खतरनाक हुन्छन् । तिनले तिनलाई तर्साउँछन्, गिज्याउँछन् र धिक्कार्छन् ।

म पोखरामा छु । यस घडीमा पोखरामा एउटा पूरक चुनावी सभा हुँदै छ । यो सत्ताधारी कम्निस्टको चुनावी सभा हो । अचम्म ! चुनावी मञ्च उदेकलाग्दो गरी कर्मकाण्डी भजनमय छ । मञ्चमा छन् शिरमा जटा धारण गरेका, निधारमा खरानी घसेका र गलामा रुद्राक्षका माला लगाएका चटके अभिनयकर्मीहरू । सशक्त माइकमा उच्च स्वरमा गगनभेदी भजन गुन्जिन्छ :

हरि पान चढाऊँ, फू चढाऊँ, दूबो चढाऊँ, मेवा
एक मनको लड्डु चढाई भक्त गर्छन् सेवा
श्री गणेशाय नमः, सबै मिली गरौँ भजन ।

दर्शक जमात भीडमभीड छ । भीडका पुर्जारूपी भक्तहरूमध्ये एक जना छन्, सत्तावृत्तका एक बडे नेता । वास्तवमा यी रिकुटे टाइपका नयाँ भक्त हुन् । यी भक्त सत्ताको देखिने भत्ता–सुरक्षा र नदेखिने के–के क–के भोग गरिरहेका छन् । भजनद्वारा अभिभूत भई यी नवभक्त भन्छन्, ‘म सन्त हनुपर्ने मान्छे, कहाँबाट राजनीतिमा आएछु ?’ यसो भन्दै यी स्खलित मनुवा आफ्नो अतीत, आफ्नो आदर्श र आफू हिँडेर आएको बाटोलाई थुकिरहेका छन् । एकबारको जुनीमा यो यिनको दोस्रो औतार हो ।

सम्झेर ल्याउँद ताज्जुब लाग्छ । आखिर हिजैको कुरा त हो । विद्रोहको बाटो हिँडेर भुइँमान्छेहरूका आँसु, रगत र उत्सर्गले आफ्नो पहिचान बनाई प्रतिष्ठा कमाएकाहरू मसँग भेट भइरहन्थे । कहिले जीवनका दोबाटामा, कहिले चौबाटामा, कहिले कतैका कुइनेटामा । मलाई भेट्दा तिनलाई दुईटा कुराको झल्याँस्स याद आउँथ्यो । माओका ‘सैनिक रचनाहरू’ को र याङ मोकृत ‘युवाहरूको गीत’ को । ती मलाई घ्याप्प अँगालो मार्थे, मुसार्थे र म्वाई खान खोज्थे । र, बडो भावुक हुँदै ती भन्थे, ‘कमरेड, यी अनुवादहरूप्रति हामी भारी कृतज्ञ छौँ । यिनैका विचार, आवेग र समरनीतिको सहाराले त हो हामीले जनयुद्ध लडेका ।’ अनि आज ? आज मलाई भेट्दा ती कि परैबाट तर्केर भाग्छन् । अथवा असजिलो मान्दै मसँग हात मिलाउँछन् र पक्राउ पर्न लागेको पटके चोरझैँ हत्तपत्त आफ्नो बाटो तताउँछन् । हिजो ती उदात्त आदर्शमा प्रतिबद्ध थिए, आज ती निकृष्ट उपभोगमा स्खलित भएका छन् । हिजो ती त्यागपथमा थिए, आज ती विलासपथमा छन् । हिजो ती भाग्य मान्छेको आफ्नै हातले लेखिन्छ भन्थे, आज तिनले भाग्यको लगाम काठको गणेशलाई सुम्पिदिएका छन् । हिजो ती ‘द्वन्द्वात्मक भौतिकवाद’ को रटना गर्थे, आज ती ‘हरि भजन’ मा झुम्मिएका छन् । हिजो ती नास्तिकताको पैरवी गर्थे र लौकिताउपर बहस गर्थे, आज ती महिष पूजन, पाइलोट बाबा ढोगन र सायद ‘हनुमान चालिसा’ जपनमा समेत मग्न छन् । ती हिजो ती टाउको टेकेर उभिएका थिए, आज ती मुन्टो टेकेर लत्रिएका छन् । हिजो आफ्नो आदर्शबाट स्खलित हुने सहयात्रीलाई ती सढेको अण्डासँग तुलना गर्थे । विडम्बनावश, कम्निस्ट हौँ भन्ने उनै जीवहरूको यत्रो जमात आज थोक हिसाबले सढाउ अण्डामा स्खलित भइरहेको छ । यो यसै जुनीमा यिनको दोस्रो
औतार हो ।

यस्ता अप्रीतिकर औतारीहरूको बिगबिगीमाझ म बडो उद्विग्न मुद्रामा थिएँ । तरुण मित्र दीपक सापकोटाले विद्युतीय यन्त्रमा मलाई ‘हेलो’ भने । गम खाँदै म चनाखो भएँ । पक्का पनि कुल्लीमा भर्ती गर्न यिनले ‘मलाई सम्झेका हुनन् । उनी बडो फुरनशील छन् । यिनको उर्वर मस्तिष्कमा घरीघरी के के फुरिरहन्छ । आफूलाई फुरेको कुरा यी शब्दशिल्पी कुल्लीलाई सुनाउँछन् । र, भन्छन्— यो गजपको विषय हो । नलेखी नहुने । र, यो लेख्ने सुयोग्य पात्र यस नरलोकमा तिमी हौ, र तिमी मात्र हौ । यी कुल्लीलाई यसरी विषयको महत्ताबोध गराउँछन्, फुर्क्याउँछन् र गाँजेर ‘ख’ गराउँछन् । सायद यिनलाई लाग्दो हो, गोर्खे कुल्लीहरू अल्छी र भुलक्कड छन् । त्यसैले त यी तिनलाई झिझ्याट लाग्ने गरी झकझक्याइरहन्छन्, स्मरण गराइरहन्छन् । विद्युतीय यन्त्रमा यिनले मलाई याङ मो र ‘युवाहरूको गीत’ को स्मरण गराए । जो कृतज्ञ छौँ भन्थे, ती हदै कृतघ्न भए । र, तिनलाई कालान्तरमा ‘युवाहरूको गीत’ को स्मृति घाँडो भयो । तर, दीपकले याङ मो र ‘युवाहरूको गीत’ बिर्सेका रहेनछन् । उनको यो स्मरणमा आदर्शप्रतिको निष्ठा कति छ र व्यवसायको गर्जो टार्ने धन्दा कति छ, त्यो म जान्दिनँ । जे होस्, उनको चञ्चल मस्तिष्कमा यो फुर्‍यो । मसँग थिएन, ‘युवाहरूको गीत’ उनैले हात लगाए ।
जिद्दीको भाकामा उनले मलाई भने— सात काम छाडेर भए पनि यो विषयमा लेख्नैपर्‍यो । लेख्न उनले मलाई दस दिनको भाका दिए । तर लेख्ने के ? लेख्ने विषयको चार किल्ला आफैँ बाँधेर उनले भने, ‘लेख्ने युवाहरूको गीतका घटना–प्रवृत्तिको इतिवृत्त वर्णन होइन । याङ मो को हुन् र के हुन् ? यो उपन्यास याङ मोद्वारा किन र कसरी लेखियो ? कुन प्रेरणा, आवश्यकताबोध वा संयोगले यसलाई नेपालीमा अनुवाद गरियो ? यसमा के त्यस्तो सम्मोहक तत्त्व छ, जसले गर्दा यो लाल वाम वृत्तमा यति धेरै पढियो ? अनि यति छिट्टै चीनमा पनि र नेपालमा पनि यसलाई किन यसरी बिर्सिइयो ? बस्, लेख्ने कुरा यी हुन् ।’

चालीस सालमा म चितवनबाट काठमाडौँ लखेटिएँ । लखेट्ने जीव थिए श्री रामकृष्ण पन्त । शाही सीडीओ, ऋषि देवकोटा ‘आजाद’ का जीवन हरणकर्ता । चितवन टेक्नु के थियो जल्लादी मुद्रामा तिनले मलाई भने, ‘विष्णुका बैरीलाई म... ।’ सतर्क हुँदै हेरेँ— हातमा अदृश्य राइफल छ, खल्तीमा नागरिक मार्ने हक छ । मार्ने राजकीय हक हुनेले मार्छु भन्नुको तात्पर्य मार्नु हो । जिउनलाई मसँग प्रिय आदर्श थियो, र काँधमा थियो दुई चिचिला सन्तानप्रतिको करुणामयी दायित्व । मलाई मरिहाल्न मन लागेन । तसर्थ अन्धकारको आवरणमा लुक्दै मैले काठमाडौँतिर टाप कसेँ ।
काठमाडौँ त जिउँदै आइपुगेँ तर अब गर्ने के ? बस्ने कहाँ ? खाने के ? बन्दीपुरे मित्र थिए एक जना, विद्या श्रेष्ठ । म तिनकहाँ अस्थायी शरणार्थी बनेँ । र, कामको खोजीमा म लागेँ भोटाहिटीतिर । त्यहाँ वैद्य दाइको देब्रे ढल्कुका पुस्तक पसल थियो । त्यसले अनुवाद प्रकाशन पनि गर्थ्यो । एक दिन दाइले मलाई ‘सङ अफ युथ’ नामक उपन्यास पढ्न दिए । त्यो चिनियाँ उपन्यास थियो, लेखक थिइन् याङ मो । मैले पढिसकेपछि दाइले केरकार गरे, ‘कस्तो लाग्यो ?’ ‘माल अब्बल छ,’ मैले भनेँ । ‘अनुवाद गर्ने हो ?’ दाइले सोधे । मलाई काम, दाम, माम तीनै थोकको खाँचो थियो । तसर्थ सहर्ष भनेँ, ‘गर्छु ।’ ज्यालाको दररेट तोकियो । र, मैले अनुवाद गर्ने इत्थमित्थ भयो ।

‘द सङ अफ युथ’ मैले टाइपराइटरमा अविराम पटटको लयमा गरेको पहिलो अनुवाद हो । यो टाइपराइटरको आफ्नै कथा छ । मेरा एक सदावहार साथी छन्, श्री स्वनाम साथी । एक दिन साथीले सोधे, ‘भेना, टाइपराइटर किन्ने हो ?’ ‘पैसा भए पो,’ प्रत्युत्तरमा मैले भनेँ । ‘सस्तो पाइया छ, किनम्,’ साथीले कर गरे । पहिले टीसीमा पढ्दा टाइप हान्न सिकेको थिएँ । कत्रो मिहिनेतले सिकेँ, त्यो सीपले कामै पाएन । ‘जे पर्ला, किन्छु,’ झ्याट्ट निधोँ गरेँ । र, यताउता यसोउसो गरेर टाइपराइटर किनेँ । रेमिङटन, मेड इन जर्मनी । माल नयाँसरह गजप छ ! छिपा अक्षर हान्छ । औँलाको चालमा, धड्कनको लयमा मुरली मकै पड्के सरी यो पड्किन्छ— पटट–पट्पट्, पटट–पट्पट्, पट्पट्–पट्पट्–पट्पट् ।



एकचालीस साल चैतमा छापिएको रहेछ यो । त्यो असहज घडीमा गर्नलाई मसँग अरू केही काम थिएन । जानलाई ठाउँ कहीँ थिएन । खुला हिँडिरहन मनमा कताकता सरकारी सुलसुलेको डर थियो । त्यसकारण म एमवी र काजीको ‘अर्द्ध भूमिगत’ शैलीमा गुप्तवासमा बसेँ । र, मैले दिनको झन्डै बाह्र घण्टाका दरले टाइप पड्काएँ । टाइपमा पहिलो पुस्तक अनुवाद गर्दा मनमा यसै पनि कौतुकमय उमंग र गहिरो आनन्द जागृत भयो । हस्त लेखनको भन्दा यो पटपटेको चाल कतिकति छिटो ! न कतै केरमेटको झमेलो छ, न साफी गर्ने लेठो छ । एकै पटकमा झिरिप्प छिपा ! वैद्य दाइले लेखेका रहेछन्, ‘यो कथित अनुवादको संक्षिप्त, सरल र अनुत्तरदायी बाटोचाहिँ होइन ।’ प्रकाशकीयको यो वाक्य पढ्दा मलाई अहिले हर्ष र गर्वबोध भयो । मेरो अनुवादमा हजार गल्ती होलान्, तर मैले निष्ठा र इमानसाथ यो कर्म गरेको छु ।

उपन्यासकार याङ मो को हुन् र के हुन् ? यो जिज्ञासाको मूर्त र सविस्तार उत्तर कतै फेला पर्दैन । नेपाल र चीनबीच भूगोलको दूरी जति छ, भावना र संस्कृतिको दूरी त्योभन्दा कतिकति धेरै छ । चीन र नेपालबीच दुर्लङ्घ्य पर्वतमाला छ । चीनसँग हाम्रो भूगोलको विकटतासँगै भाषाको विकटता पनि छ । आजसम्म एक जोडी चिनियाँ र नेपाली युवक–युवतीको बिहा भएको तपाईँलाई थाहा छ ? खै, मलाई छ थाहा छैन । बस्, यति भनेपछि यसबारे लामो गन्थन गर्नै परेन । याङ मोबारे मलाई जम्मा यत्ति थाहा छ, उनी क्रान्तिकारी एवं सिर्जनशील चिनियाँ नारी हुन् । जन्म— १९१४ अगस्त २५, मृत्यु— १९९५ डिसेम्बर ११ । जन्मथलो पनि बेइजिङ, मृत्युथलो पनि बेइजिङ । रोचक कुरा, उइकिपिडिया भन्छ— याङ मोको पेसा लेखन हो । यसको अर्थ उनी पूर्णकालिक लेखक हुन् । र, यसको अर्थ हो— ‘युवाहरूको गीत’ बाट आर्जित ख्याति र यसको बिक्रीले याङ मोलाई जीवनभरि प्राण धान्न सघायो । अर्को रोचक कुरा, याङ मोका आफन्तहरूबारे उइकिपिया मौन छ । यसले यतिमात्र भन्छ— निकट नातेदारका रूपमा याङ मोकी केवल एक भगिनी थिइन् । तिनको नाम हो बाई याङ । बस् ।

‘युवाहरूको गीत’ को कथ्य चीनको सन् १९३० को दशकको पूर्वार्द्धको हो, यो लेखियो सन् ५० को उत्तरार्द्धमा । सन् १९३१ मा जापानले उत्तरपूर्वी चीनका चारवटा प्रान्तलाई अजिङ्गंगले झैँ सुलुक्कै निल्यो । र, अन्य निकटवर्टी प्रान्तहरूलाई निल्न हिंस्रक नङ्ग्रा गाड्यो । चीनको इतिहासमा त्यो हुनुसम्म अँध्यारो काल थियो । चीन संकटको मुखैमा पुग्यो, र सर्वत्र गहिरो हतासा एवं भयावह सन्नाटा व्याप्त भयो । शासनको आसनमा गजधम्म बसेको थियो ढ्याके क्वमिन्ताङ । क्वमिन्ताङ ऊर्फ मिचाहा जापानीको नोकरतुल्य सेवक र चिनियाँ जनताको जघन्य उत्पीडक । जब १९३५ को हिउँद आयो, जाग्न थालेका पेफिङका विद्यार्थीहरू झुरुम्मै सडकमा उत्रिए । ‘चीनका जनता देश जोगाउन उठ’ भन्ने नाराको तुमुल ध्वनिले चिनियाँ आकाश गुन्जियो । बस्, युवाहरूको गीतको जायजन्म त्यही ध्वनि र त्यही गुञ्जनबाट सुरु भयो । त्यस उप्रान्त याङ मोकै कथनमा, ‘मिसिनगन र संगीन, काराबास र यातना वा फाँसीसामुसमेत एकरत्ती नदबी असंख्य श्रेष्ठ तरुणहरू बैरीसँग दृढता साथ लडे । एक जना योद्धा ढल्यो, अर्को जना उसको ठाउँमा खडा भयो । देशको भविष्य उज्ज्वल छ भन्ने कुरामा ढुक्क हुँदै केही मानिस हाँसीहाँसी मरे, अरू धेरै मानिस ढालिएका मानिसहरूका रक्ताम्य पाइला टेक्दै अघि बढे । यो उपन्यास एक तरुण बौद्धिकको समाजप्रति विरोधको हुंकार हो ।’

‘युवाहरूको गीत’ लिन ताओ चिङको कथा र व्यथा एवं घर्षण र गाथाबाट निर्मित एक भव्य विम्ब हो । तत्कालीन जाग्रत र क्रान्तिकारी युवाहरूको एक जाज्वल्यमान प्रतिनिधि विम्ब । उपन्यासकी नायिक उनै हुन्, उपन्यासको केन्द्र उनै र यसको समापन पनि उनै । उनी बेइजिङकी जमिनदारकी छोरी हुन् । उनकी आमालाई जमिनदारले बलात् रखौटी बनाएको थियो । पछि उसले अर्की महिलासँग बिहा गर्‍यो र ताओ चिङकी आमालाई छिःछिः, दूरदूरको हदै सिकार तुल्यायो । त्यो उत्पीडन र अपमान यति चरम थियो, उसले ताओ चिङकी आमालाई छोरीलाई माया गर्न पनि दिएन । अतिशय उदास र हतास आमा हाम्फालेर आत्महत्या गर्न विवश भइन् । सौतेनी आमाले ताओ चिङलाई जब एक धनाढ्य पुरुषको हातमा बेच्न खोजेको पोल खुल्यो, उनले त्यो नारकीय घर छाडेर सुटुक्क टाप कसिन् । त्यो टाप कसाइ निसासलाग्दो पिँजराबाट बन्धित सुगाको मुक्त आकाशमा मुक्तितुल्य थियो । सतहमा त्यो ताओ चिङको एक अविदित र अनिश्चित जगत्तिरको पलायन थियो । तर, त्यो पलायनको अन्तर्यमा वास्तवमा स्वतन्त्रता र मुक्तिको उमंगमय भ्रूण थियो । कालान्तरमा, संगत र संघर्ष एवं स्वयंको अन्वेषण र आविष्कारको जटिल प्रक्रियामा, त्यो भ्रूणले कोपिलाको रूप धारण गर्‍यो । त्यो कोपिलो फक्रिएर फुल्यो । र, त्यसको सौन्दर्य एवं सुवास चीनभरि व्याप्त भयो । त्यो उदात्त आदर्शको सौन्दर्य थियो, त्यो साहसिक उत्सर्गको सुवास थियो ।
जीवनका कठिन र कष्टकर उकाली–ओरालीबीच लिन ताओ चिङको कम्निस्ट चेतनासँग साक्षात्कार भयो । यसबीच बेइजिङको एक विद्यार्थीसँग उनको मायापिर्ती बस्यो र बिहा भयो । स्वरूपमा त्यो पठ्ठो सुन्दर फूलजस्तो थियो तर सारमा त्यो करेटको औतारमा गोचर भयो । पहिले इतिहास र शास्त्रहरू पढ्नुपर्छ, बुझ्नुपर्छ र खार्नुपर्छ— ताओ चिङलाई उसले अर्ती दिया— अनि मात्र क्रान्तिमा लाग्नुपर्छ । अज्ञानी अन्धकारमा छामछाम–छुमछुम गर्दै कहीँ कतै पुग्दैन । त्यस पठ्ठाको यो उपदेशमा यथास्थितिको पूजा–आराधना अन्तर्निहित थियो । यसरी ऊ ताओ चिङको अग्रगति र प्रगतिमा पलपल बाधक बन्यो । कालक्रममा यो बाधा ताओ चिङका लागि असह्य भयो र उनले त्यो अतीतमुखी र भविष्य–निषेधी करेटलाई सदाका लागि परित्याग गरिन् ।
ताओ चिङको चिनियाँ कम्निस्ट पार्टीसँग नाता गाँसियो । र, उनी पार्टी चिन्तनको आलोकद्वारा प्रेरित भई संघर्षका अनेक मोर्चाहरूमा डटिन् । मुक्ति यात्रामा मानव स्वरूपमा सद्दे तत्त्वहरू भेटिए, खोटाहरू भेटिए । निष्ठावान र इमानीहरूको स्नेह र सहयोग प्राप्त भयो, औसरवादी र बेइमानहरूले धोका दिएर सताए । भूमिगत जीवनको साह्रोगाह्रो र काराबासको कहरले लिन ताओ चिङलाई इस्पाततुल्य तुल्यायो । यात्रामा कमरेडको आवरणमा प्रकट हुने छद्म जासुसहरूले उनलाई जासुसको आरोप लगाए । कारागारमा प्रहरी अधिकारीहरूले उनीसँग मायापिर्ती बसेको स्वाङ पारे । यी सब चालहरू ताओ चिङलाई कलंकित र पतित तुल्याउने जाली कतुर्तहरू थिए । ताओ चिङ क्रान्तिकारी जीवनको यो कठिन परीक्षामा सानदार ढंगले उत्तीर्ण भइन् । र, उनी समस्त चिनियाँ युवाहरूको आकर्षण, प्रेरणा र अनुकरणको सम्मोहक गीततुल्य बनिन् ।
चीनको युवा संघर्षका लक्ष्य दुइटा थिए । एउटा, विदेशीको कब्जामा रहेको भूमिलाई मुक्त गर्नु । अर्को, समस्त चिनियाँ समाजलाई सामन्ती एवं औपनिवेशिक शोषण र दोहन तथा दासता र पछौटेपनबाट मुक्त गर्नु । कमान्डमा कम्निस्ट पार्टी थियो । जीवनपथको दिग्दर्शन गर्ने दर्शन मार्क्सवाद थियो । र, युवा संघर्षको अग्रभागमा खडा भएकी ताओ चिङका हातमा हसिया–हथौडा अंकित लाल झन्डा थियो । कम्निस्ट घोषणापत्रको भाषामा ‘जित्नलाई सारा संसार सामुन्ने थियो, गुमाउनलाई सिक्री सिबाय केही थिएन ।’ बस्, युवाहरूको गीतको कथासार
यस्तैयस्तै हो ।
उपन्यासको अन्त्यतिर, लाल युवा आन्दोलनको उत्कर्षको घडीमा, संग्रामी मानवसागर उर्लिन्छ । ताओ चिङ सागरको अघिल्लो भागमा हुन्छिन् । ताओ चिङको अनुहारमा रगत र आँसु लपतिएको छ । गलो बसको स्वरमा ताओ चिङ आह्वान गर्छिन्, ‘दास बन्न इन्कार गर्ने सबै मानिस हो, उठ र लड !’ ताओ चिङको उत्ताल आवेगयुक्त यो स्वरको अन्तरधारमा मलाई उपन्यासकार याङका यी उदात्त वचनहरू ध्वनित भएझैँ लाग्छ, ‘प्रकाश अन्धकारभन्दा बलशाली हुन्छ, उच्चता नीचताभन्दा बलशाली हुन्छ, स्वार्थीपनमाथि निःस्वार्थपनको र दुःखमाथि सुखको विजय हुन्छ, हुन्छ ।’
बस्, ‘युवाहरूको गीत’ सकियो ।

‘युवाहरूको गीत’ प्रकाशित भएको सुखद साल हो सन् १९५८ । सन् १९५९ मा चिनियाँ क्रान्तिको दशौँ वार्षिकोत्सवको औसरमा यस उपन्यासमा आधारित फिल्म सार्वजनिक भयो । साठी–सत्तरीको दशकमा यो उपन्यास लटालट बिक्यो, खुब पढियो र यसको औधी चर्चा भयो । र, बजारको भाषामा यसलाई ‘बेस्ट सेलर’ को संज्ञा दिइयो । जब सन् १९७६ आयो, याङ मो र ‘युवाहरूको गीत’ का दुःखका दिन सुरु भए । उक्त साल, सनातनी क्रान्तिकारीहरूको आक्षेपकारी भाषामा, शासनको बागडोर ‘पुँजी पन्थीहरू’ का हातमा पर्‍यो । त्यसपछि के भयो ? चतुर शासकको ‘कालो बिरालो’ र ‘सेतो’ बिरालोको कथनले बजार पिट्यो । अब व्यक्तिवादले टाउको उठायो । संस्कृतिमा स्वार्थी प्रतिस्पर्धा हावी भयो । लोभले त्यागलाई ओझेलमा पार्‍यो । सादगीलाई विलासिताले निस्तेज तुल्यायो । र, ‘पुँजी पन्थी’ संस्कृतिमा छिटो धनी हुनु पराक्रम र श्रेष्ठताको अब्बल मानक बन्यो । यस पृष्ठभूमिमा युवाहरूको गीत सक्रिय पठनबाट स्मृतिको नेपथ्यतर्फ धकेलियो । सन् १९८० मा याङ मोको ‘युवाहरूको गीत’ को ‘सिक्वेल’ अर्थात् उत्तरभाग प्रकाशित भयो । तर, पठन र चर्चाको बजारमा कतै पनि त्यसको अस्तित्वको खासै आभास भएन । बजार ‘जंक फुड’ तुल्य पठन सामग्रीहरूले ढाकिएको थियो ।

नेपाली लाल वाम वृत्तमा गोर्कीको ‘आमा’ पछि सर्वाधिक पढिएको उपन्यास हो— याङ मोकृत ‘युवाहरूको गीत’ । ‘आमा’ खास गरेर सहर–बजारका हुनेखाने पठितहरूले पढे । तर, ‘युवाहरूको गीत’ दुर्गम भेगका गाउँ–देहातका साक्षर गरिबहरूले पनि पढ्न भ्याए । यसलाई जनयुद्धको आँधीबेरीले बोकेर त्यता पुर्‍यायो । धर्मभीरुहरूका लागि ‘हनुमान चालिसा’ जस्तो हो, क्रान्तिकारी जमातका लागि यो उपन्यास त्यस्तै भयो । ‘युवाहरूको गीत’ युवाहरूका हातहातै सर्दै गयो, र यसलाई पालो पर्खीपर्खी पढियो । तिनताक क्रान्तिका नायकहरू यो अनूदित उपन्यासको जनजागरणकारी एवं सौन्दर्यबोधी भूमिकाप्रति मुखर रूपमै कृतकृत्य थिए । तर, अचेल ती यसबारे सर्वथा मौन छन् । ऊबेला ती जुन आदर्शका पैरवीकार एवं योद्धा थिए, अहिले ती त्यही आदर्शलाई कुल्चिँदै र थुक्दै हिँडिरहेका छन् । नायकहरू खलनायकमा पतीत भएका छन् । र, तिनका लागि ‘युवाहरूको गीत’ एकदमै त्याज्य बनेको छ । सकिने भए सायद तिनीहरू ‘युवाहरूको गीत’ को स्मृतिलाई मस्तिष्कका चिप्सहरूबाट सदाका लागि खुर्केर फाल्दा हुन् । दुर्भाग्यवश, सकिँदैन । बरा यी खलनायकहरू हदै दुःखी जीव हुन् । यिनलाई हिजो आफैँले बडो अनुरागपूर्वक मस्तिष्कमा अंकित गरेको ‘युवाहरूको गीत’ को स्मृतिले तर्साइरहेछ, गिज्याइरहेछ र धिक्कारिरहेछ ।

Page 20
कोसेली

लाहुरेलाई पानी पतिया ‘शुद्ध खाना १५ गाँस खानू’

इतिहास
- राजकुमार दिक्पाल

नेपाल र अंग्रेजबीच युद्ध भएरै छाड्यो । नेपाली सेनाले राष्ट्रभक्तिका साथ वीरतापूर्वक लडे तापनि ब्रिटिस सैन्य शक्ति र कूटनीतिक चातुर्यका अगाडि अन्ततः नेपाल सुगौली सन्धिमा खुम्चनुपर्‍यो । तर, १८७१–७२ को नेपाल–अंग्रेज युद्धले नेपालीको वीरताको शौर्य भने प्रदर्शन गरायो । सीमित स्रोत र साधनबाट पनि अंग्रेजलाई राम्रैसँग टक्कर दिएपछि अंग्रेजहरू नेपालीहरूलाई आफ्नो सेनामा भर्ना गराउन लालायित भए ।
नेपालीहरूको इमानदारी र वीरताको परख अंग्रेज जनरलहरूले गरेका थिए । त्यसमा पनि जनरल अक्टरलोनीले गोरखालीहरूलाई अंग्रेज सेनामा भर्ती गर्न विशेष पहल र चातुर्यता देखाएको पाइन्छ । विक्रम संवत् १८७१–७२ को नेपाल–अंग्रेज युद्धपछि एकातिर युद्धमा हार खाएका गोरखाली सेनामध्ये स्वयम् नेपाली सेनानायक अमरसिंह थापाका छोराहरू अर्जुनसिंह थापा र भुपालसिंह थापा तथा एक नाति पञ्जाबकेशरी रणजित सिंहको फौजमा भर्ना भई लाहोर (हाल ः पाकिस्तान) मा पुगी लाहुरे कहलाइसकेका थिए भन्ने ऐतिहासिक तथ्य दिनेशराज पन्तको ‘लाहोरमा नेपाली वीरहरू’ शीर्षकको लेख इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ को पूर्णांक ५ (२०२२ वैशाख ः ६३–७०) पढ्दा थाहा पाउन सकिन्छ ।
नेपाल–अंग्रेज युद्धका समयमा युद्धमैदानमा खटिएका गोरखाली सैन्य जवानमध्ये नालापानीका चर्चित योद्धा बलभद्र कुँवर पनि लाहोर गई लाहुरे बने । उनलाई उनका मामाहरू अर्जुनसिंह थापा र भुपालसिंह थापाले लाहोर पुर्‍याएका थिए । उनलाई रणजित सिंहको सेनामा भर्ना गराएको थाहा पाउन बलभद्र कुँवरकै सन्तान रामराजा कुँवर र डा. धनबहादुर कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ (२०६९ः५१–५२) मा उल्लेख गरिएअनुसार ‘बलभद्रले आफ्ना मामाहरू अर्जुनसिंह र भुपालसिंह थापासँगको भेटपछि अन्य मूलुकमा जाने इच्छा जनाएका थिए’ भन्ने पढेपछि पहिलोपटक लाहोर गई लाहुरे कहलाउने पहिलो लाहुरे को रहेछन् भन्ने जिज्ञासा पनि मेट्न सकिन्छ ।
तर, अर्कोतर्फ अक्टरलोनीसँग अमरसिंह थापाको वार्ता वा कुराकानी हुँदै थियो । यस्तो सन्धि सम्झौताको विषयमा ‘नेपालको सैनिक इतिहास’ (२०४९ः२२८–२२९) पढ्दा के थाहा हुन्छ भने जनरल अक्टरलोनीसँग अमरसिंह थापाले गरेको सम्झौताअनुसार, तीन बटालियनमा चार हजार ६ सय ५० जनालाई ब्रिटिस सेनामा भर्ना गरिइसकिएको थियो । यो लेखनीमा थोमन्सम एडवार्डको ‘द मेकिङ अफ् द इन्डियन प्रिन्सेस’ (सन् १९४३ः१९२), बीबी सक्सेसनाको सम्पादनमा छापिएको ‘हिस्टोरिकल पेपर्स रिलेटिङ टु कुमाउ’ लाई पनि पढ्न सकिनेछ ।
यसरी अमरसिंह थापाले अक्टरलोनीसँग सम्झौता गरे पनि उनकै छोरा–नाति कोही अंग्रेज सेनामा त कोही पञ्जाबी सेनामा भर्ना भई सेवा गर्न थाले । यता नेपालमा भने अंग्रेज वा अन्य वैदेशिक सेनामा भर्ना गर्न बन्देज थियो । भीमसेन थापा अंग्रेजको कट्टर विरोधी थिए ।
अर्कोतर्फ कार्ल मार्क्सले भारत भ्रमण गरेपछि जंगबहादुर राणाको विषयमा गरेको टिप्पणी ‘जंगबहादुर राणा बेलायतको नोकर’ भन्ने विषय घतलाग्दो छ । तर, जंगबहादुर राणा र उनका उत्तराधिकारी बमबहादुर राणा पनि आफ्ना नौजवानलाई विदेशी सेनामा भर्ना गर्न अनिच्छुक थिए । रणोद्दीप सिंहको समयमा भने नेपाली नौजवानलाई विदेशी सेनामा भर्नाका लागि केही उदारता देखाइएको पाइन्छ । कतिसम्म भने यसरी लाहुर गएका नेपालीहरूलाई नेपाल प्रवेशसम्म गर्न दिइँदैनथ्यो । विश्वयुद्धको समयमा भने ब्रिटिसका लागि विभिन्न मुलुकका नौजवान सैन्य अत्यावश्यक भएकाले र तत्कालीन नेपालको राजनीतिक घटनाक्रममा भर्खरै वीरशमशेर गोत्रहत्या गरी सत्तामा पुगेकाले अनि आफ्नो शासनलाई अंग्रेजबाट मान्यता पाउनका खातिर उनी अंग्रेज सेनामा नेपालीहरूलाई भर्ती पठाउन उदार देखिए । चन्द्रशमशेरको समयमा त नेपाली नौजवानलाई अंग्रेज सेनामा भर्ती गर्न ठूलै उदारता देखाइयो । चन्द्रशमशेरको समयमा अर्थात् प्रथम विश्वयुद्धको बेला भारतीय अंग्रेज सेनामा भर्ना भएका पाँच लाख एक हजार सैनिकमध्ये ५५ हजार जना त नेपाली थिए । त्यो समय त्यो संख्या नेपाली पुरुषको जनसंख्याको २५ प्रतिशत थियो । प्रथम विश्वयुद्धमा ३६ हजार जवान मरे वा घाइते भए । तीमध्ये २० हजार जना त नेपाली जवान थिए भन्ने ज्ञानका लागि ‘नेपालको सैनिक इतिहास’ (२०४९ः२४४–२५३) पढ्न आग्रह गरिन्छ ।

चन्द्रशमशेरको इस्तिहार
लायक नेपाली नौजवानलाई भारत हुँदै अंग्रेज सेनाका लागि भर्ती हुन चन्द्रशमशेरले ठाउँठाउँमा इस्तिहार पठाए । नमुनाका लागि पाँचथरको याङनामका वृजहाङपति जवेगुको संकलनमा रही इतिहासकार भगिराज इङ्नामबाट यस लेखकलाई उपलब्ध विक्रम संवत् १९७२ को इस्तिहारमा उल्लेख गरिएको भर्तीका लाग्नका लागि आवश्यक योग्यताको बारेमा यहाँ चर्चा गरिन्छ ।
यस इस्तिहारमा उल्लेख भएको छ,‘...बृटिश गोर्खा पल्टनमा भर्ना गर्नालाई आफूखुसी भर्ना आऊने रित्रुट थोर थोरै मात्रै भएकाले इके बखत पूरा गर्न नपुगेको हुनाले नेपाल सर्कारबाट बन्दोबस्त भया चाढो रिक्रुट चाँडो भर्ना हुँदो हो भन्या दोस्तिकालिहाजले बृटिश सर्कारका तर्फबाट लेखि आयाको र आफुखुसि जानमा भन्दा सर्कार तर्फबाट बन्दोबस्त जानेलाई सबै कुराबाट सुबिस्ता र कदन पनि रहने ३ वर्ष नोकारी गरिसकेपछि छाडी आउने मन्सुवा हुनेले छाडी आउन पाइन्छ अथवा पुरा नोकरी गरि इङ्लिस पेन्सन लिइ आउनेले मन्सुवा हुनेले छाडी आउन पाइन्छ ।....’ भन्दै नेपाली नौजवानको योग्यतामा १८ वर्षदेखि २५ वर्षभित्रको उचाइ पाँच फिट दुई इन्चको र छाती ३२ इञ्चको हुनुपर्ने आदेश जारी गरे । यो इस्तिहारमा जातिगत योग्यता पनि जारी गरिएको छ । यसमा ठकुरी, क्षत्री, गुरुङ, घले, मगर, लिम्बू, किराती, राई, सुनुवार, रानाभाट, नगरकोटी, मतवाली खस, तामाङ र शेर्पा सेनाका लागि योग्य जाति ठहरिने उल्लेख छ ।
यस इस्तिहारमा पल्टनमा पठाउनेलाई पनि विशेष बक्सिसको ब्यवस्था गरिएको छ । यसअनुसार, एक जनादेखि १० जना भर्ना गर्नेलाई तीन रुपैयाँ तीन मोहर, १० देखि २४ जना पठाउनेलाई चार रुपैयाँ दुई मोहर र त्योभन्दा बढी पठाउनेलाई पाँच रुपैयाँको ब्यवस्था गरिएको छ ।

जंगबहादुरको धार्मिक कट्टरता
जंगबहादुर राणा बेलायत भ्रमणमा जाँदा सरकार प्रमुखका रूपमा नभई सरकारको एक प्रतिनिधिको रूपमा गएका थिए । उनलाई त्यहाँ ‘एक्स्ट्रा अर्डिनरी’ राजदूतका रूपमा प्रचारित गरिएको थियो ।
कट्टर हिन्दु धर्मावलम्बी भएका कारण क्रिस्चियनहरूको छोइछिटो नसहने जंगबहादुरले आफू यात्रारत पानी जहाजमै छुट्टै भान्साको ब्यवस्था गरेका थिए । ‘जंगबहादुरको बेलाइत यात्रा’ (२०५८ः७) मा उल्लेख भएअनुसार, जंगबहादुरले जहाजमा यात्रा गर्दा आफ्ना सहयात्रीहरूलाई मोहित बनाएका थिए । तर, खाँदाखेरी कसैलाई हेर्न दिँदैनथे । पानी छुन दिँदैनथे । मेवा, भाजी, तरकारी भण्डार गर्दा पनि छोइछिटो होला कि भनी सर्तक रहन्थे । गाई पनि आफैं दुहुन्थे ।
जंगबहादुरको बेलायत भ्रमणलाई त्यहाँका सञ्चारमाध्यमहरूले पनि विशेष समाचारीय महत्त्वले हेरेका थिए । तीमध्ये ‘इलस्ट्रेटेड न्युज’ को सन् १८५० जून १ को जंगबहादुरसम्बन्धी समाचारलाई ‘जंगबहादुरको बेलाइत यात्रा’ (२०५८ः५४–५५) मा उद्धृत गरिएको परिशिष्ट २ मा उनको म्लेच्छ अर्थात् क्रिस्चियनहरूले छोएको खाना नखाने प्रतिबद्धता विषयमा पढ्न पाइन्छ । समाचारमा उल्लेख भएअनुसार, बेलायतमा जंगबहादुरलाई होटलमा बस्ने व्यवस्था गरिएको थियो । तर, उनले पूरै होटल आफ्ना लागि नपाए होटल नजाने अडान लिए । क्रिस्चियनका लागि पकाइएका खानेकुरासँग मिसिएला भन्ने धार्मिक कट्टरताले यो कुरा उठेको थियो । फलस्वरूप ः जंगबहादुरको दलले साउथ ह्याम्पटनमा बसुन्जेल उनीहरूका लागि छुट्टै सुत्ने खानेकुरा पकाउने बन्दोबस्त गरियो ।
यसमा खट्ने जंगबहादुरका सहयोगीहरू भाँडाकुँडा, पानीका गाग्री, बिछ्यौना, चामल र अन्य खानेकुरा सार्दैमा ब्यस्त थिए । पछिल्लतिर चोकमा एउटा पाल टाँगियो । र, त्यसैमा एउटा नेपाली भान्छाकोठा तयार भयो ।
जंगबहादुरको दलको छोइछिटोमा कतिसम्म कट्टरता थियो भने उनीहरूको सम्मानमा दिइएको भोजमा समेत उनीहरू केही नखाई फर्के । ‘जंगबहादुरको बेलाइत यात्रा’ (२०५८ः५६–५७) मा परिशिष्ट ४ मा प्रयोग भएको ‘द इलेस्ट्रटेड लन्डन न्युज’ को सन् १८५० जुन ८ को समाचारअनुसार, जंगबहादुर र उनको भ्रमण दलको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो । त्यहाँ महारानी भिक्टोरियाको सुस्वास्थ्यका लागि टोस्ट प्रस्ताव गरियो । जंगबहादुरको सम्मानमा पनि टोस्ट प्रस्ताव गरियो । त्यहाँ जंगबहादुरले आफ्नोतर्फबाट भाषण गरे । तर, उनी र उनको भ्रमण दलका सदस्यले राजसी अतिथि सत्कारपूर्ण त्यो रात्रिभोजमा केही खाएनन् । उनीहरू त भोजकोठाको झकिझकाउ दृश्यको दर्शक मात्र भएर फर्के ।

लाहुरेलाई पानी पतिया
लाहुरे भर्तीमा नेपाली नौजवानहरूलाई पठाउन वीरशमशेर र चन्द्रशमशेर उदारमना भएपछि ठूलो संख्यामा नेपाली युवाहरू ब्रिटिस सेनामा भर्ना हुन थाले । जातीय तथा धार्मिक रूपमा हिन्दुमतमा कट्टर राणा शासकले क्रिस्चियनहरूले छोएको नखाने परम्परा थियो । त्यो जंगबहादुरले बेलायत भ्रमणमा खुलाम्खुला देखाए ।
जंगबहादुरको पुरानो नीतिअनुसार, बेलायत वा युरोपतिर जाँदा छोइछिटो वा लाटलुट हुन्थ्यो । तर, यस्तो विगतको परम्परालाई तोडेर चन्द्रशमशेरले नेपाली युवाहरूलाई ब्रिटिस सेनामा भर्ना हुने बाटो प्रशस्त मात्रै गरेनन्, जहाँसुकै पुगेर सैनिक सेवा गरे पनि नेपाल फर्कंदा उनीहरूलाई पानी पतिया गर्ने व्यवस्था मिलाए ।
उनको समयमा ब्रिटिस गोर्खा सैनिकमा भर्ना गर्न १० केन्द्र खोलिएको थियो । उनले गोर्खा बटालियनका नेपाली जवानलाई समुद्रपार म्लेच्छ लोकका रणक्षेत्रमा जान अनुमति दिए । रणक्षेत्रबाट फर्केपछि ‘पानी पतिया’ संस्कारद्वारा पुनः ती जवानहरूले हिन्दु सामाजिक संस्कारमा प्रवेश गर्न पाउने नियमसमेत तर्जुमा गरियो । यो पाद टिप्पणी दिल्ली विश्वविद्यालयमा प्रस्तुत पुरुषोत्तम बाँस्कोटाको विद्यावारिधिको शोधपत्र ‘रिक्रुटमेन्ट अफ् द गोरखाज् इन् द ब्रिटिस आर्मी’ को पृष्ठ १४२–४५ लाई ‘नेपालको सैनिक इतिहास’
(२०४९ः२५०) मा उद्धृत गरिएको छ ।

पानी पतियाको पाठ
म्लेच्छ मुलुकमा गएर देशमा फर्केपछि पानी पतिया कसरी गर्नुपर्थ्यो त ? पानी पतिया भनेको चोख्याउनी हो । यसलाई प्रायश्चित्त पनि भनिन्छ । यसबारे थाहा पाउन यस लेखकले पुर्ख्यौली थलो ताप्लेजुङको हाङपाङ भई हाल ः बुद्धनगर (काठमाडौं) निवासी नामेन्द्रसिंह आङबुहाङलाई सम्पर्क गर्‍यो । नामेन्द्रसिंहको संकलनमा रहेको र इतिहासकार तथा पूर्वप्रशासक भगिराज इङ्नामबाट यस लेखकले प्राप्त गरेको एक सय वर्षअघिको चन्द्रशमशेरकालीन लाहुरेको पानी पतिया वा प्रायश्चित्त पत्रको पाठ यहाँ प्रस्तुत छ ।
तत्कालीन वडा गुरुज्यू धर्माधिकारी तर्कराज पाण्डेले जारी गरेको यस्तो पत्रको पाठ यस्तो छ :
श्रीमद्रोरक्षश्भुपेन्द्रप्रेरितंस्मृति सम्मतम् ।।
स्तच्छेदनोपायं प्रायश्चित्तं समाचर ।।
प्रथमादिन मण्डन गरी माटो भष्म पञ्चगव्य लेपन गरी स्नान गर्नू त्यस दिनैमा हविस्य ग्रास १५ दिन खानू दोस्रादिन १२ खानू तेस्रादिन नमागी कसैले खा भनी दिए ग्रास २४ खानू चौथादिन नीराहारगर्नू यस्ता रीतले फेरा ३ गर्दा १२ दिन हुन्छ तेह्रौ दिनमा पञ्चगव्य खाई व्राह्मणलाई सिधा दक्षिणा दिनू तिमीहरू यो महाघोर लडाइको कामपरेको हुनाले र आफना सर्कारको अैनले लडाईका निमित्त मात्र समुद्र पार जान हुन्छ भन्ने भएकोले हुनाले र हुकुमले लडाईमा जाादा पनी आफनो जात खाादा पिदा पनी कौनै कुरा तलमाथी नपारी आफनो जात धर्म मजव राखि आएको प्रतितपर्ने सबुद समेत दाखिल गरेको हुनाले देहशुद्ध संवत् १९७७ साल चैत ३ गते रोज ३ शुभम् यो पत्र ताप्लेजुङ हाङपाङका निवासी तत्कालीन ब्रिटिस भारतीय सेनाका सुवेदार धरमधोज (धर्मध्वज) लिम्बूले पाएका हुन् । यो पत्रमा उनकै नाम उल्लेख छ ।

माथि दिइएको पाठको अर्थ हो :
माटो, खरानी र पञ्चगव्य (गहुात, गोवर, दूध, दही र घ्यू) शरीरमा लेपन गरी नुहाएर शुद्ध खाना १५ गाँस खानू । दोस्रो दिन १२ गाँस खानू । तेस्रो दिन नमागी कसैले खानू भनी दिए २४ गाँस खानू । चौथो दिन केही नखानू । यस्तो रीत तीनपटक गरेपछि १२ दिन हुन्छ र तेह्रौं दिनमा पञ्चगव्य खाई ब्राह्मणलाई सीधा दक्षिणा दिनू । तिमीहरूको महायुद्धमा काम परेको हुनाले र आफ्ना सरकारको ऐनले लडाइँका लागि मात्र समुद्र पार जान हुन्छ भन्ने भएकाले हुनाले र सोहीअनुसारको हुकुमले लडाइँमा जाँदा पनि खाँदा पिउँदा आफ्नो जात तलमाथि नपारी आफ्नो जात धर्मलाई कायम राखी आएको प्रतीत हुने गरी सबुदसमेत दाखिल गरी देहशुद्ध भएको छ ।
यो पतिया पत्र पाउने धर्मध्वज लिम्बूका छोरामध्ये जेठा गंगाप्रसाद र साहिँला खड्गेन्द्रसिंह आङबुङहाङ पनि ब्रिटिस गोर्खा सैनिकमा भर्ना भए । यस्तै काइँला छोरा नरेन्द्रबहादुर हाङपाङको प्रधानपञ्च भए । खड्गेन्द्रसिंह त जिल्ला पञ्चायत, ताप्लेजुङको उपसभापतिसमेत भए । उनी ब्रिटिस गोर्खाका क्याप्टेन दर्जाबाट सेवानिवृत्त भए ।
यसरी चन्द्रशमशेरको समयमा लाहुरेहरूका लागि सुरु भएको पानी पतियाका लागि पतिया पत्र जारी गर्ने तर्कराज पाण्डेचाहिँ राजदरबारका अन्तिम बडागुरुज्यू नयनराज पाण्डेका हजुरबुबा हुन् ।

कोसेली

नाच जोगाउने सहर

मेरो सहर
- रामचन्द्र श्रेष्ठ

६९ साल असोजमा मावली गाउँ अर्घाखाँचीको झेंडी पुग्दा भैरमको तालले रात घमाइलो बनाएको थियो । ६ वर्षपछि निकालिएको भएकाले पनि होला गाउँको रौनक नै बेग्लै थियो । उसो त भैरमको रौनक नै मौलिक हुन्छ । नाच्नका लागि अर्को गाउँ जानु छ भने बाटोभरि कर्नाल बजाउँदै, हल्ला पिट्दै, धूलो उडाउँदै आउँछ भैरम । भैरमको टोली नै ठूलो हुन्छ । कालो भैरम, रातो भैरम, सेतो भैरम, डंकिनी, ताकुन्डोलीको टोली, घोडा नाच, मयूर नाच, भालु नाच, जादुगर अनि दसवटा त बाजा । व्यवस्थापनको उस्तै टोली । लगभग ९० जनाको विशाल जत्था लिएर हिंड्छ भैरम ।
भैरमसँग हुर्केका केटाकेटी वयस्क र बूढा हुँदा पनि गुरु मादलको ताल बिर्संदैनन् । कृष्ण जन्माष्टमीपछि उनीहरूको कानले भैरमको ताल खोज्न थाल्छ । यस्ता सांस्कृतिक कर्महरूले मान्छेको दिलमा स्मृतिको न्यानो नासो छोडेको हुँदोरहेछ । मान्छे जिन्दगीको खोजीमा कहाँ–कहाँ बरालिन्छ तर उसको दिलको नासो पटक–पटक बल्झिँदोरहेछ ।
भैरमको रौनकमा रमाउँदारमाउँदै पनि झेंडीका नेवारहरूलाई एउटा चिन्ताको पछ्यौरीले सपक्क छोपेको थियो । यो विशाल जत्था सधैं पाउन अब गाह्रो हुँदै थियो । वैदेशिक रोजगारीका लागि युवाहरू परदेसिएपछि गाउँ सुनसान भइरहेको थियो । कुनै बेला पाँच–पाँच जना क्षेत्रीय भलिबल खेलाडी हुर्काउने गाउँको खेलमैदानमा झार पलाइसकेको थियो । त्यो साल संयोगले युवाहरू जुटे र भैरम निकालियो । केही नयाँ केटाहरूले नाच सिक्न पनि थाले तर गुरु मादल बजाउने कसले ? निरन्तरताको प्रश्नले अत्याइरहेको थियो । यसपालि अचम्मै भयो । गाउँमा निरन्तरताको चिन्ता भएको भैरम यसपालि बुटवलमा नै निकालियो । गत भदौ १५ देखि कात्तिक ८ गतेसम्म बुटवल र आसपासमा भैरम नाचियो । त्यति मात्र होइन, अर्घाखाँचीका नेवारहरूको पहिचान बोकेको भैरम असोज ३ गते काठमाडौंमा प्रज्ञा प्रतिष्ठानको डबलीमा पनि फन्कियो । भैरम बुटवलका नाच र उत्सवहरूको सूची लम्ब्याउन सफल भयो । भैरम मात्र होइन, बुटवलका उत्सवहरूको लर्कोमा नवीनतम परिचय बनाउन सफल भएको छ अर्को नाच सरायँ । विशेषगरी गुल्मी, अर्घाखाँची, प्यूठानलगायतका गण्डकीपारिका पश्चिम पहाडमा बडादसैंपछि पूर्णिमासम्म विभिन्न कोटहरूमा सरायँ नाचिन्छ । तथापि गुल्मी र अर्घाखाँचीको विशेष पहिचान हो— सरायँ ।
सरायँ शक्तिसँग जोडिएको छ । यो पहाडका विभिन्न कोटहरूसँग जोडिएको छ । देवीको पूजा आफैंमा शक्तिको पूजा हो । शक्ति र युद्धको विजयको प्रतीकस्वरूपः तरबारको प्रदर्शनसहित सरायँ नाचिन्छ । अहिले बुटवलमा दसैंको टीकापछि द्वादशीको दिन जितगढीमा, त्रयोदशीमा मजुवामा र पूर्णिमामा देवीनगरमा नाचिन्छ । यीमध्ये सबैभन्दा पुरानो देवीनगरको सरायँ हो, जुन २०६७ सालबाट नाच्न सुरु गरिएको हो ।
सरायँ र भैरम आफ्ना पहाडि गाउँबाट ओर्लेर बुटवल सहरमा स्थापित भएका छन् । आखिर के छ बुटवलमा जसले यी चाडलाई समाहित गर्न सक्यो ?

गाउँ बोकेको सहर
बुटवलमा सरायँ नाचको विगत खोतल्दै जाँदा जितगढी सरायँ समितिका अध्यक्ष जंगबहादुर श्रीस २०६३ सालको प्रयासलाई कोट्याउँछन् । त्यो साल गुल्मी धुर्कोटबाट बसाइ सरी आएका मानिसहरूले ट्राफिकचोकमा सरायँ नाच्ने प्रयास गरे । तर, त्यो प्रयासले निरन्तरता पाउन सकेन । कारण विविध हुन सक्छन् । तर, मुख्य कारण उक्त नाचको परम्परामा हुर्केका मानिसहरूको जनसंख्या कम हुनु नै हो । त्यसको केही वर्षपछि २०६७ सालमा गुल्मीकै मानिसहरूको प्रयासमा देवीनगरमा सरायँ नाच सुरु भयो । त्यतिबेला देवीनगरमा दसैंको बेला नौतुनवाबाट देवीको मूर्ति ल्याएर पूजा गर्ने चलन थियो । दसैंपछि त्यसलाई सेलाइन्थ्यो । यो पहाडको चलनभन्दा फरक थियो । पहाडमा देवीको स्थायी कोट हुन्छ । ती कोटको आफ्नो गुठी हुन्छ । गुठी जमिनको आम्दानीले खर्चको निरन्तरता दिइरहेको हुन्छ । तर, मधेसको चलनमा दसैंकी देवीको स्थायी मन्दिर हुँदैन । अस्थायी मूर्ति राखिन्छ र पछि त्यो सेलाइन्छ ।
२०६७ सालमा त्यो मूर्ति राख्न नेतृत्व गरेकाहरू गुल्मीबाट बसाइ सरी आएका मानिस थिए । त्यतिबेलादेखि सरायँ व्यवस्थापनमा नेतृत्वदायी भूमिका खेल्दै आएका अर्जुन कुँवरका अनुसार, त्यस
साल गुल्मी पीपलधाराबाट पाँच जना सरायँ नाच्न जान्ने मानिसलाई ल्याएर नाच सुरु गरिएको थियो । अर्को वर्षदेखि यहाँकै जनशक्तिले सरायँ नाच्न सक्ने स्थिति तयार भयो । त्यसको दुई वर्षपछि जितगढीमा सरायँ सुरु भयो । यसरी ०६३ मा असफल भएको सरायँले निरन्तरता पाउनुको कारण थियो, सरायँको पृष्ठभूमि भएका अर्घाखाँची र गुल्मीका मानिसहरूको जनसंख्या वृद्धि हुनु । गुल्मी र अर्घाखाँचीको सरायँमा केही भिन्नता छ । अर्घाखाँचीमा बढी ‘वाक्खै हो’ भन्दै नाचिन्छ, जुन अलि द्रुत गतिमा हुन्छ भने गुल्मीको मन्द गतिको सरायँ नै हो । तर, दुवैखाले नाच यहाँ मिश्रण भएको छ ।
यो मिश्रण बुटवल निर्माण प्रक्रियासँग जोडिएको छ । बुटवल सहरको निर्माण बसाइसराइकै माध्यमबाट भएको हो । बुटवलमा लगभग चार मुख्य चरणमा मानिसहरूको बाक्लो बसाइसराइ भएको छ । सुरुआती चरणमा अहिलेको पुरानो बुटवलमा पाल्पाका नेवारहरू बसाइ सरी आएकोलाई पहिलो चरण भन्न सकिन्छ । दोस्रो चरण २०२७ सालको नापीसँगै खस्यौली (तिनाउको पूर्वी भाग) मा विस्तारित बसाइसराइ हो जुन पञ्चायतकालसम्म चलिरह्यो । तेस्रो बहुदलको आगमनपछि मन्द गतिमा २०५८ सम्म भइरहेको हो । चौथो अलि द्रुत गतिमा विस्तारित भएको २०५८ पछि हो । २०५८ पछि बसाइ सरी आउनेको संख्या बढ्न थाल्यो । यसको एउटा मुख्य कारण पहाडी भेगमा भएको द्वन्द्व थियो । २०६३ पछि यो क्रम झनै बढ्दै गयो । बसाइ सरी आउनुका केही विशेष कारण छन् । त्यसलाई बुझ्न बुटवलको अर्थ–राजनीतिलाई केलाउनुपर्छ ।
ठूला राजनीतिक परिवर्तन र अस्थिरताको समयमा बुटवलको जनसंख्या वृद्धि हुने गरेको छ । राजनीतिक अस्थिरताको समयमा सुकुम्बासी बस्तीहरूको स्थापनामा सहज हुन थाल्यो । यस्ता सुकुम्बासी बस्ती कम आय भएका मानिसलाई स्थायी घर प्रदान गर्ने थलो बने । सहरमा सस्तो श्रम बेचेर डेरा गरी बसेका श्रमिकहरूले सुरुआतमा सुकुम्बासी बस्ती ओगट्न थाले । ती अनेक चुनौतीहरूसँग जुधे । छिमेकी पुर्जावाल बस्ती, नगरपालिकादेखि बाढीसम्मका चुनौतीसँग जुधे । तिनको पछाडि भविष्यको भोट बैंकको कल्पना गरेका राजनीतिक दलहरूको स्वार्थले पनि भूमिका खेलेको थियो । राजनीतिक संस्थाहरूमा रिक्तता पनि अर्को अनुकूल वातावरणको कारक थियो । जब यस्ता सुकुम्बासी बस्तीले सामाजिक वैधता पाउन थाले, त्यहाँ विद्युत्, पानी पुग्न थाल्यो । त्यसपछि सुरुआती चरणका मानिससँग सस्तोमा घडेरी किनिन थाले । पहाडबाट आएका तर पुर्जावाल घडेरी किन्न नसक्नेका लागि यस्ता सुकुम्बासी बस्ती सहर प्रवेश गराउने माध्यम बन्न थाले ।
अर्कोतर्फ वैदेशिक रोजगारीका माध्यमबाट पहाडी भेगका मानिसहरूसँग केही पुँजी जम्मा भयो । उनीहरूको त्यो पुँजीलाई घर–घडेरीमा खर्च गराउन पहिला नै बुटवलमा आइसकेका जग्गा दलालहरूको राम्रै समूह निर्माण भइसकेको थियो । ती दलालहरूले आफ्नै गाउँठाउँका मानिसहरूलाई घरघडेरी किन्न प्रोत्साहित गर्थे । यसरी आफ्नै गाउँठाउँका मानिस बसाइ सरी आउन थाले । ती बुटवलको लगभग एकै क्षेत्रतिर बसाइ सरे, जसले गर्दा एक–दुई जना व्यक्ति होइन, सिङ्गो गाउँ नै बसाइ सरेर आउन थाल्यो । एउटै गाउँ र नातेदारको सञ्जालको कारण सामूहिकताजस्तो गाउँले भावना कायम रह्यो । एउटै क्षेत्रका मानिसहरूको जनघनत्व बढ्न थालेपछि त्यसले आफ्नो पहिचान र सांस्कृतिक कर्मको उत्पादन गर्न खोज्यो । यहीं क्रमको सिलसिला भैरम र सरायँ हुन् ।

चालक शक्ति– सम्पर्क समाजहरू
सरायँ र भैरम सुरुआत हुनुको पछाडि सम्पर्क समाजहरूको प्रत्यक्ष र परोक्ष भूमिका छ । बुटवलमा अनगिन्ती सम्पर्क समाजहरू छन् । आफ्नो पुर्ख्यौली थलो र बुटवल, रूपन्देही जोडेर बनाइएका यस्ता सम्पर्क समाजहरू बुटवलका पहिचान बनेका छन् । बुटवलमा केन्द्रित भएर मानवशास्त्रबाट विद्यावारिधी शोध गरिरहेका अमृतकुमार भण्डारी विविधतायुक्त समाजमा आफ्नोपनको खोजीको क्रममा यस्ता सम्पर्क समाजहरू बन्ने बताउँछन् ।
भण्डारीका अनुसार, दुई कारणले सम्पर्क समाजहरू स्थापित हुन्छन् । एक, नवआगन्तुकहरू बसाइ सरी आएको भूगोलमा पूर्वस्थापित समाजमा घुलमिल हुने वातावरणको खोजी गर्छन् । मर्दापर्दा र अन्य सांस्कृतिक कर्महरूमा पूर्वस्थापित छर–छिमेकीको साथको खोजी हुन्छ । तर, नवआगन्तुकहरू पूर्वस्थापित समाजमा सजिलै घुलमिल हुन सक्दैनन् । घुलनशीलताको डिग्री जति कम हुन्छ, त्यति नवआगन्तुकले आफ्नै उद्मगका मानिसहरूको खोजी थाल्छन् । त्यसैले सम्पर्क समाज स्थापित हुने एउटा मुख्य कारण समाजमा घुलनशीलताको कमी हुनु हो ।
दोस्रो, मानिसको लगाव उद्गमस्थान हुन्छ । मान्छे पुराना कुरा सम्झिरहन्छ । उसको यो नस्टाल्जियाले आफ्नोपनका मानिसको खोजी गराउँछ । सहयोग र ऐक्यबद्धताको नाममा यस्ता सम्पर्क समाजहरू स्थापित हुन्छन् । यी सम्पर्क समाजहरूले व्यक्तिलाई समाजसँग जोड्न मद्दत गर्छन् । हुँदाहुँदा यस्तो दृश्य पनि देखापर्छ, मृत्युका बखत जोडिएको घरको मान्छे आइरहेको हुँदैन तर सम्पर्क समाजका मान्छेहरू जम्मा भइसक्छन् ।
सम्पर्क समाजहरूले समन्वय, ऐक्यबद्धता र सहयोगका साथै निरन्तरता पनि प्रदान गर्छन् । आफ्नो उद्गम भेगको संस्कृतिको निरन्तरतामा यिनको जोड हुन्छ । बुटवलमै भैरम सुरु गरिनुभन्दा पहिला लगातार तीन वर्षसम्म अर्घाखाँचीको झेंडी र नुवाकोटको भैरम निम्त्याइएको थियो । त्यसलाई संयोजन गर्ने काम सम्पर्क समाजहरूले गरेका थिए । जस्तो, झेंडीको भैरमलाई ‘डिर्भना–रूपन्देही सम्पर्क समाज’ ले संयोजन गरेको थियो । अहिलेको भैरम नाच ‘नेवाः समाज अर्घाखाँची–रूपन्देही’ ले नै संयोजन गरेको हो ।
त्यस्तै सरायँको पृष्ठभूमिका सम्पर्क समाजहरूको भूमिका भएको जितगढी सरायँ समितिका अध्यक्ष जंगबहादुर श्रीस बताउँछन् । एउटै भेगका मान्छेहरूलाई भेला पार्न सम्पर्क समाजहरूले भूमिका खेल्छन् । त्यस्तै अनुभव देवीनगर मन्दिर समितिका अध्यक्ष अर्जुन कुँवरको छ । सुरुआती वर्षहरूदेखि नै सरायँलाई सफल पार्न विभिन्न सम्पर्क समाजहरूले सहयोग गरेको उनको अनुभव छ । यी सम्पर्क समितिहरूको सामाजिक दायित्व हुँदाहुँदै पनि नेपथ्यमा राजनीतिक उद्देश्य हुने अनुसन्धाता अमृतकुमार भण्डारी बताउँछन् । सम्पर्क समितिहरूले दलगत राजनीतिभन्दा पनि आफ्नो समुदायको नेतृत्व गर्न र कालान्तरमा त्यसबाट राजनीतिक पुँजीको निर्माण गर्न सहयोग गर्ने उनको अध्ययन रहेको छ । यसरी सम्पर्क समाजहरू एउटै उद्मग भेगका समुदायको चालक शक्ति बनिरहेका छन् ।

पहिचान र सामर्थ्य
पाल्पाका नेवारहरूबाट स्थापित भएको हुनाले बुटवलमा पाल्पाली नेवारहरूको सांस्कृतिक कर्महरू बढी प्रचलित छन् । गाईजात्रादेखि सामूहिक बेलविवाहहरू प्रचलित छन् । त्यस्तै पहाडका ब्राह्मण–क्षत्रीहरूको जनघनत्व बढ्दै जाँदा ठाउँ–ठाउँमा तीजका नाचहरू पनि प्रचलित छन् । तीबाहेक बुटवल व्यापारको जगमा बसेको सहर भएकाले तिहारमा आफैं गाउनेभन्दा पनि ‘साउन्ड स्पिकर’ बजाएर नाच्ने यहाँको चलन बन्यो । अर्कोतर्फ गितार र ड्रमप्रतिको युवा आकर्षणसँगै कन्सर्टहरू आयोजना हुन थाले । यी सबै उत्सवको बीचमा नवआगन्तुक मानिसहरूलाई आफ्नो बेग्लै पहिचानका लागि पनि मौलिक नाचहरू सुरु गर्नु आवश्यक थियो । यसलाई लेखक ऋषि आजाद ‘प्रचलित संस्कृतिहरूमा नयाँ थपिएको’ उल्लेख गर्छन् ।
उद्मग थलोका नाचहरू सहरमा सुरु गर्नु सहज भने थिएन । तर, यसको पछाडि नस्टाल्जिया जोडिएको नेतृत्वकर्ताहरूको अनुभव रहेको छ । भैरम नाचको सुरुआतबारे ‘नेवाःसमाज अर्घाखाँची–रूपन्देही’ का अध्यक्ष बाबुराम श्रेष्ठ भन्छन्, ‘कर्मभूमि यहाँ भए पनि जन्मभूमिको सम्झना आइरहन्थ्यो । त्यहाँको भैरम सम्झना आइरहन्थ्यो । त्यो सम्झनाले नै भैरम नाच सुरु गर्न प्रेरणा दियो ।’ तर, सुरु गर्न सजिलो थिएन । यसका लागि आवश्यक जनशक्ति चाहिन्थ्यो । बाजा बजाउन, नाच्न जान्ने मानिस चाहिन्थ्यो ।
भैरम नाच तान्त्रिक विद्यासँग जोडिएको छ । यो कृष्णजन्माष्टमीमा भैरम जगाएर नाच्न सुरु गरेपछि कात्तिकको औंसीमा सयन गराउनुपर्छ । त्यसका लागि तान्त्रिक विद्याको अभ्यासकर्ता हुनुपर्छ । साथै भीमसेनको मन्दिर हुनुपर्छ । यो समस्याको समाधानका लागि झेंडीका नेवारहरू मात्र पर्याप्त थिएनन् । त्यसैले बुटवल र आसपासमा बस्ने अर्घाखाँचीका नेवारहरूको भेलाले ‘नेवाःसमाज अर्घाखाँची–रूपन्देही’ को गठन गर्‍यो । यसै क्रममा आवश्यक जनशक्ति जुट्न थाल्यो । भैरम जगाउने र गुरु मादलको जिम्मा बुटवलबाट लगभग बीस किलोमिटर पश्चिम बाँसगढीमा बस्ने धनप्रसाद श्रेष्ठले लिए । कालो भैरम नाचे झेंडीकै गिरिराज श्रेष्ठले । यस्तै यस्तै सबै जनशक्ति जुट्यो । सुरुआतका लागि आर्थिक संकलन पनि उत्तिकै महत्त्वपूर्ण थियो । नेवाः समाजका
मुख्य नेतृत्वकर्ताहरूले आफैं पनि लगानी गरे साथै भेटीको रूपमा पनि आर्थिक संकलन गरिएको श्रेष्ठ बताउँछन् । कोठा भाडामा लिएर भीमसेनको मन्दिर पनि स्थापना भयो ।
सरायँलाई समन्वय गर्ने तरिका पनि यस्तै छ । जितगढीको सरायँको लागि बेग्लै सरायँ समिति गठन भएको छ । तर, यो सरायँ जितगढीमा पहिलै नै स्थापित रहेको देवीको मन्दिरसँग जोडिएको छ । सरायँ समितिकै पहलमा अहिले एक करोड रुपैयाँको लगानीमा देवीको नयाँ मन्दिर निर्माण गरिएको समितिका अध्यक्ष जंगबहादुर श्रीस बताउँछन् । देवीनगरको सरायँ भने अहिले पूर्णतया ‘श्री नवदुर्गा मन्दिर मूल समिति’ को मातहत छ । मूल समितिको मातहत विभिन्न उपसमिति छन्, त्यसमध्ये एक सरायँ उपसमिति हो ।
सरायँ नाचसँगै जोडिएको मुख्य तप्का वाद्यवादकहरू हुन् । पहाडमा गाउँका दमाई जातिले बाजा बजाउने गर्छन् । बुटवल सहरले ती वाद्यवादकको ‘परम्परागत पेसा’ लाई आर्थिक उपार्जनमा बदलेको छ । बुटवलमा विभिन्न बाजा समूहहरू स्थापित छन् । सरायँ र भैरममा ती वाद्यवादकहरूलाई निश्चित ज्यालामा बोलाइन्छ । तर, सकेसम्म उद्गम क्षेत्र एउटै भएका बाजा समूहहरूको खोजी हुने गरिन्छ ।
भैरम र सरायँका नेतृत्वकर्ताहरूले आफ्ना सांस्कृतिक कर्मलाई पूर्वस्मृति (नस्टाल्जिया) र संस्कृति संरक्षणसँग जोड्छन् । तर, उनीहरू यसलाई आफ्नो भेगको पहिचान भएको पनि स्विकार्छन् । भैरमले सिङ्गो अर्घाखाँचीको नेवारहरूलाई जोडेको छ र त्यो उनीहरूको पहिचान बनेको छ । त्यस्तै सरायँले गुल्मी अर्घाखाँचीका सरायँ खेल्ने सबै जातजातिलाई जोडेको छ र त्यो उनीहरूको पहिचान बनेको छ । तर, उनीहरू अन्य समुदायलाई पनि आफूसँगै जोड्ने प्रयत्न गरेका छन् । श्रीसका अनुसार जितगढीको सरायँले गुल्मी, अर्घाखाँची उद्गम भएका साथै अन्य पहाडी भेगका मानिसहरूलाई पनि जोडेको बताउँछन् । उनका अनुसार अहिले प्यूठान, पाल्पालगायत उद्गम भएकाहरू पनि सरायँमा सहभागी हुन थालेका छन् । यसको लागि उनीहरूले एउटा उपाय पनि निकालेका छन् । सरायँलाई उजिरसिंहले अंग्रेजमाथि विजय प्राप्त गरेकोसँग जोडेर प्रचार गरिएको छ ।
त्यस्तै देवीनगरको सरायँ नाचपछि साँझ मन्दिरकै आयोजनामा सांस्कृतिक कार्यक्रम पनि हुन्छ । समितिका अध्यक्ष अर्जुन कुँवर यसलाई सरायँमा नरमाउने मानिसहरूको लागि आयोजना गरिएको बताउँछन् । भैरम समितिका अध्यक्ष श्रेष्ठले भने भैरम सबै नेपालीको सांस्कृतिक सम्पत्ति भएको जिकिर गर्छन् ।
एकै भेगका मानिसहरूको बढ्दो जनघनत्व, सम्पर्क समाजहरूको भूमिका र आर्थिक उपार्जनका कारण भैरम र सरायँ बुटवलका नयाँ सांस्कृतिक कर्म बनेका छन् । यिनले सम्बन्धित समुदायको पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तर भैरम र सरायँ पहिचान मात्र होइनन्, सांस्कृतिक वैभव पनि हुन् । अनुसन्धाता अमृत भण्डारीका अनुसार यस्ता सांस्कृतिक कर्महरूको लुप्त उद्देश्यमा सामर्थ्यको प्रदर्शन पनि हुन्छ । भैरम नाच प्रस्तुत गरिरहेको अर्घाखाँचीको नेवार समुदायले पहिचान मात्र होइन कि सहरको शक्ति सम्बन्धमा आफ्नो भूमिकाको खोजी पनि गरिरहेको छ । सांस्कृतिक कर्महरूले हामी पनि एउटा शक्ति हौं भन्ने अभिव्यक्त गरिरहेको हुन्छ ।

कोसेली

नाङ्साल

कथा
- अनिता लामा

एउटा औंसीको मध्यम साँझ ।
मलाई थाहा छ— बुबालाई एन्जाइटी डिसअर्डर छ । तर, बुबाको अर्डर नमान्नु भनेको डिसअर्डर झन्–झन् निरन्तर उँभो लाग्नु हो । म बुबाको हरेक डिसअर्डरलाई अस्वीकार नगरीकनै अस्वीकृत गरिदिने प्रयत्न गरिरहन्थें ।
उपचारको शृंखलाभरि यसो गरिरहन पाइन भनें फेरि आफैंलाई डिसअर्डर अनुभूत हुन्थ्यो । त्यसैले औंसीको मध्य चल्दै थियो, सायद एघार बज्न लागेको थियो, म बुबाको अर्डर मानेर उहाँको पूजाकोठा अर्थात् लाथान गएँ । रातो अक्षतासहित बाटेको धूप ल्याउन उहाँको अर्डर थियो ।
अरू बेला यी सब काम आमाले गर्नुहुन्थ्यो । मैले आमाको निद्रालाई बिथोल्न चाहिनँ । बुबालाई यस्तो डिसअर्डर भएपछि म बुबासँगै सुत्ने गर्छु । मुटु र निमोनियाको रैथाने रोगी, त्यसमाथि अहिले दाँतको दुःखाइ छ आमालाई । म सकेसम्म आमाको सयन समय खोस्न चाहन्नँ र ढोका ढक्ढक्याउन जाँदिनँ । ‘सायद यतिखेर तपाई, यो केटी बुबासँगै सुत्छे भनेर दिमागी घनचक्कर लाउँदै हुनुहुन्छ हो ?’
‘हेल्लो !’
एकतमासजस्तो बनेको पलाँसजीको घुँडामा म हत्केलाले प्याट्ट छोएर बोलाउँछु । ‘ओ ?? अँ होइन ! तपाईंको आत्मविश्वासलाई कसरी उतारूँ भनेर हो । ठीक छ, सो इन्ट्रेस्टिङ, भन्दै जानुस् ।’
यसपछि पलाँसजी सुरुको अवस्थाभन्दा केही गजक्क देखिए । पक्कै हो उनलाई म बुबासँग सुत्छु भन्ने कुराले नै छोएको छ । तर मैले भनिदिएँ, ‘ओके ।’ अनि जिस्किदिएँ, ‘केही क्षण दिग्भ्रम भैहाले पनि म छु नि, एन्जाइटी काउन्सिलर ।’
‘तर बुझ्नुभो पलाँसजी, तपाईंले ममा आइरहेको इमोस्नल सिन बिगारिदिनुभयो । कहाँ पुगेकी थिएँ म भन्नुस् त ।’
‘तपाईं...तपाईं... लाथान जाँदै हुनुहुन्थ्यो रातो अक्षता र बाटेको धूप लिन ।’
‘सही भन्नुभो, म लाथान गएँ तर त्यहाँ त पल्याक–पिलिक अनि घुमीघुमी बल्ने डल्लो झिलिमिली बत्ती पो बलिरहेको रहेछ । आँखै तिरिमिरी भयो । झ्याप्पै निभाइदिएँ र सट्टामा लिड बत्ती बाल्दै अक्षतामा अबिर हालेर रातो बनाइँदिएँ । बाटेको धूपचाहिँ लाथानको पोको पुन्तुरो र र्‍याकतिर कतै भेटिनँ । सिन्की धूप मात्रै लिएर आएँ बुबाको सामुन्ने ।’ बुबाले सानो लवजमा भन्नुभयो, ‘आमालाई बोलाऊ, तिमीले जान्दैन ।’ बुबाले यसो भनिरहुन्जेल मैले सिन्की धूप भाँचेर रातो अक्षताले तीनपटक बुबालाई छुँदै पत्रिकामा राखिसकेकी थिएँ । आमाले अरू बेला गरिरहनुभएको देखेकै हुँ । अनि माथि कौसीबाट अँध्यारो घरनजिकैको बाँस झाङतर्फ धूपलाई हुर्‍याइदिएँ । तल कोठामा आइपुग्दा त बुबा एकाएक ताजा । आवाज पनि स्पष्ट र ठूलो । बुबाको ताजगीले मलाई छक्कै पारिदियो ।
‘बुझ्नुभो त, बुबाको एन्जाइटी पलाँसजी ? तपाईंको कुरा केही बेरमा सुन्छु, पहिले मलाई फिनिस्ड हुन दिनुस् है ।’
मैले पलाँसजीको असमन्जस्यतालाई बुझेरै पेलिरहें, बोलिरहेँ । ‘अँ त पलाँसजी, म बुबाको एन्जाइटी मनोदशा पन्छाउन सकें भन्नेमा मख्ख थिएँ । बुबाको एन्जाइटी र अन्य स्वास्थ्य परिस्थिति गम्भीर भएदेखि नै हो म बुबाको खाटैमुनि ओच्छ्यान लगाएर सुत्ने गर्छु । बुबा ननिदाउन्जेल निद्रा त पर्दैन । कुनै न कुनै पुस्तक पढ्नु या मोबाइलमा मोहित हुनु मेरो यतिबेलाको खास चर्या हो ।’
यतिबेला सिरानी छेउ थियो हर्क गुरुङको लेखहरूको संगालो । पढ्न थाल्दै थिएँ, बुबाले भन्नुभयो, ‘अँ तिमीले बत्ती पो निभायौ कि ? त्यहाँ लाथानमा बलिरहेको झिलिमिली बत्ती बालेरै राख्नुपर्छ है ? केही जान्दैन, बुझ्दैन यी केट्केटीहरूले ।’ बुबा फतफत गर्दै हुनुहुन्थ्यो, म जुरुक्क उठेर लाथानमा बत्ती बाल्न गएँ, नत्र भोलि झिसमिसेमै बुबा उठ्नुहुन्छ र लाथानमा मैले बत्ती निभाएको देख्नुभएपछि फेरि अर्को डिसअर्डर !’

एक साँझ घरको कौसीमा उत्तरतिरको हरियो पहाडसँगै विपश्यना धर्मश्रृंग विहारको तेज अनि भर्खरै बनेको जाम्छेन स्तूपाको चमकसित टोलाउँदै थिएँ, हतार–हतार बुबा माथि आउनुभयो । आमा पनि कौसीमै हुनुहुन्थ्यो ।
‘लाथानरी नाङसाल म्राथान्गो है । म्राप ज्यानालासी डुंगो ।’ (देउथानमा बत्ती बालिराख है । अनि ढोका
नि लाउनू ।)
‘लु थेजी थेजी ।’ (लु सुनें सुनें) आमा फत्फताउनुभयो ।
बुबा फेरि हुरहुरिँदै तल जानुभयो ।
कौसीमा आमाले कालो र सेतो रङको तुलसीको गमला, सूर्यको प्रतिमूर्तिलाई साथैमा राखेको अर्को एउटा सानो थान छ । त्यसकै वरपर के–के सामसाम सुमसुम गर्दै हुनुहुन्थ्यो । यसपछि कौसीमा घोटी–घोटी खरेटो लाउन थाल्नुभयो ।
‘फोहोर छैन त, किन घोटी–घोटी बढार्नु, हिँड्नुस् तल ।’
‘भोलि बिहान तिम्रो बुबाले पानी ओसार्दा हिलो हुन्छ र चिप्लिन्छ । फेरि राति पानी पर्न पनि सक्छ । अहिले धूलो, माटो सफा गरेर सुक्खा राख्दा भोलि चिप्लो हुँदैन नि ।’
सबैका लागि सहयोगी कोही हुन् भने ‘आमा’ नै हुन् । मनैमनले दर्शन गरें आमालाई । बुबाले दिन बिराएर बिहान एक ‘फोसी’ पानी उमाल्नुहुन्छ । घरको छतको उत्तरतर्फ आफैंले बनाउनुभएको माटोको दुईमुखे चुल्हो छ, तल बारीबाट काम नलाग्ने झिझामिझा, मकैको घोगा, सुकेको बाँस, बोट, फलफूलको सुकेको रूखको हाँगाबिंगा बटुलेर एक थुप्रो बनाइराख्नुहुन्छ र चुल्होमा उपयोग गर्नुहुन्छ । पानी उमाल्ने र दिनभर सेलाउने, त्यसपछि तामाकै भाँडोमा फिल्टर गर्ने र बोतल–बोतलमा पिउनका लागि तयार गर्ने । बुबाको यो वर्षौंदेखिको सेवामा आमाको सम्भार र सहयोग पनि जारी नै थियो ।
‘अँ त पलाँसजी त्यो तामाको फोसी छ नि, करिब ९ वर्ष भयो पाटन मंगलबजार पुगेर बुबा आफैंले किनेर ल्याउनुभएको हो । तामाको र सिल्भरको ठूलो–ठूलो भाँडाबर्तन मंगलबजारमा राम्रो पाइन्छ’ भन्नुहुन्छ बुबा । तपाईंलाई झिँझार त लागेको छैन नि पलाँसजी ? यस्तो पारिवारिकता त सबैको हुन्छ, फेरि मेरो यी कहानी सुन्न तपाईंलाई केको बाध्यता हगि ?’ ‘छैन, छैन म आफैं आज तपाईंलाई सुन्न र बुझ्न आएको, कहाँ झ्याउ मान्छु र ? लौ गाण्डीव उठाउनुस् न, रथ गुडिसक्यो !’
‘तपाईं कृष्ण चरित्र नउभ्याउनुस् । मलाई सबैभन्दा बेसारे पात्र लाग्छन् कृष्ण । फेरि अर्को बहसमा पोखिउँला । यस बखत म तपाईंकै आग्रहले बुबाकै आसपास छु ।’
‘बुबाको एउटा बूढो साइकल छ । यस्ता एन्जाइटी मेडिसिन लिइरहनुहुँदा पनि त्यही साइकल लिएर अस्ति भर्खरै असन जानुभएछ, मलाई त पछि भन्नुभयो, रोकतोक होला भनेर नसोधीकनै जानुभएछ फूलको बीउ लिन ।
केराउ फूलको बीउ चाहिएको रे !
यताउता नजिकै पाइएन रे !
पहिले राख्नुभएको बीउ हरायो रे !
हिजो स्वस्थ हुनुहुँदा एकै समयमा काठमाडौं, भक्तपुर, ललितपुर भ्याउनुहुन्थ्यो साइकलमै । साइकलभरि नाइलनको रंगीचंगी झोला झुन्ड्याएर टन्न तरकारी लिएर आउनुहुन्थ्यो घरमा । त्यो साइकल र एउटा हाते कल दुवै नै सेकेन्ड ह्यान्ड खरिद गर्नुभएको थियो । म कक्षा ८ मा पढ्थें र मेरो कक्षामा होम साइन्सअन्तर्गत वस्त्र सिलाइको पनि कक्षा हुन्थ्यो । प्रत्येक कक्षामा सिलाइका लागि चाहिने वस्त्र किनेर लैजान नसक्दाको पीडा अनि कपडा पसलबाट उधारो वस्त्र लगे पनि सिलाइ मेसिन नहुँदाको ग्लानिबोधले स्थिर बुबाको आँखा पढेपछि म आफैं वस्त्र सिलाइको कक्षाको दिन अक्सर बिरामी बनिदिन्थें र ‘सिक रुम’ मा हाजिर हुन्थें ।
धन्न एक जना दिदी हुनुहुन्थ्यो, सहयोगी । उहाँले आफ्नी छोरीलाई सानो भएको युनिफर्म र जुत्ता दिएर होस् वा खाजा नहुँदा बाँडेर होस् माया दिइरहनुहुन्थ्यो । वस्त्र नल्याएकाले सिलाइको ड्राफ्ट कक्षा पूरा गर्न पाइएन भन्दै लखेटी–लखेटी केटीहरूलाई ड्राफ्ट बनाउने स्केलले पिडौंलामा निर्मम हान्ने र कपाललाई परालको मुठो बाँधेजस्तो असह्य घुमाएर थुचुक्कै पार्ने ती गुरुआमाप्रति चाहिँ कसैको पनि श्रद्धा थिएन । यो अनुशासनको सिकाइ हो वा गरिबीप्रति निर्मम मजाक ? बोल्ने साहस नभए पनि ति गुरुआमाले अरूलाई चुटेको हेर्नचाहिँ सक्दिनथें । जब चुटाइ भेट्थें, मेरो गरिबीलाई चूर्ण हुनेगरी दिने त्यो चुटाइमा मलाई मेरो बुबाको खुजमुजिएको कमिजको रित्तो खल्ती र आँखाको भरिलो हीनतामाथि बलात् आक्रमण गरेको महसुस हुन्थ्यो ।
सरकारी स्कुलमा मिहिनेती र जाँगरिली जेठी छोरीको समेत पढाइ कमजोर लागेपछि माइलीलाई त जेनतेन बोर्डिङ पढाउनुपर्छ भन्ने भएर आमा–बुबा र दिदीको सल्लाहले नै मलाई कक्षा ७ देखि बोर्डिङमा सारिएको थियो ।
ल भयो, स्कुलतिर नहराऊँ होला है पलाँसजी, मैले पलाँसजीको अल्छी घुच्चुक देखेपछि विषयान्तर गरें । आमा र दिदीको मजदुरीबाट र बुबाको सानो तहको नोकरीको पैसा मिसिँदा भित्रिएको ती साइकल र कलजस्ता जिनिसहरूले कम्ता मन रमाएको थिएन । उधारो दिने साहुहरू र्‍याउँर्‍याउँती हेर्थे, बाउले साइकल कसरी किने भनेर । चप्पलमा नयाँ तुना फेरेको दिन पनि चप्पल हेर्थे आँखा फाटेर । उधारो लिने लाइनमा बुबासँगै चपक्क बसेका हुन्थ्यौं दिदी र म, सबैलाई सामान पूरा दिएर पठाएपछि मात्रै उधारो दिन्थ्यो साहुले । उधारोको बिल याक चुरोटको गुलाबी बट्टाको पछिल्तिर लेखिएको हुन्थ्यो । बुबाले त्यसबखत मर्यादाको टाउको निहुराउनुहुन्थ्यो ।’
‘अभाव र गरिबीको दलन प्रायः उस्तै छ, बुबाले दिनुभएको संस्कार र शिक्षादीक्षा कति अनुकरणीय, त्यो अघि तामाङ भाषाबाट बुबाले के भन्नुभएको हो आमालाई आतुङजी ? ‘आतुङ’ मा कुनै विशेषणको बुट्टा लाग्दैन, यो मेरो आफ्नो नियम हो । व्याकरणीय दृष्टिकोण तपाई जान्नुस् । आतुङ स्वयं नै विशेषणले जन्मेकी हुन् । गहिरो वेग छ आतुङ नामसँग । त्यसैले आदरार्थी ‘जी’ नभन्नुस् यो सम्बोधनमा ।
अँ म कौसीमा टोलाउँदै थिएँ । घरको छत सिनित्त सुक्खा पार्नुभएपछि आमा लाथान छिर्नुभयो र मलाई बोलाउनुभयो ।
‘बत्तीको तार दायाँबायाँ कार्पेट र अन्य वस्तु नभेट्ने गरी मिलाएर राख्न लागेको, निभ्यो हेर त’ आमाले आत्तिँदै हुनुहुन्थ्यो । मैले मिलाइदिएँ । बत्ती झिलिमिली बल्यो । आँखै तिरिमिरी हुनेगरी ।’
‘रातभरि किन बाल्ने गरिएको यो बत्ती ? पानी पर्दा, हावाहुरी चल्दा कहिलेकाहीँ करेन्ट सर्ट भयो भने, दुर्घटना हुन्छ, नबाले नि हुन्न आमा ?’
‘बुबा रिसाउँछन्, बाल्नुपर्छ, ल यो तार मिलाऊ ।’
‘कहिलेदेखि बाल्न थालिएको हो यो बत्ती ?’ म अलिक झर्किदिएँ । ‘ए थाहा छैन तिम्लाई ? अस्ति तिम्रो जन्मदिनदेखि खै के सुर चल्यो तिम्रो बाउले आफैंले किनेर ल्याएछन् र बाल्न थालेको । नबाली हुँदैन, रिसाउँछन् ।’
‘कहाँबाट ल्याउनुभएछ ?’ खासमा हाम्रो घरदेखि बिजुली पसल केही टाढा नै छ, लगभग हिँडाइको आधा घण्टाको दूरीमा । अहो, बुबाले त्यसरी दुःख गर्नुभएछ ? बुबाको सम्मानमा खर्चिने शब्द नै पाइनँ मैले । त्यो बत्ती गोलो, भकुन्डो आकारको थियो, लाथानको बीच भागमा ।
‘यस्तरी बीचैमा राख्नुपर्छ त, भित्तामा आड लगाउँदा सुरक्षित पनि हुन्थ्यो,’ आमालाई सुझाएँ ।
‘बीचमा राख्दा सबै देवीदेउतालाई पुग्छ रे नि !’
उत्तरपूर्वीतर्फ राखिएका हिन्दु देवीदेवता, पश्चिमतर्फ राखिएका बौद्ध थाङ्का, पुर्खा तथा बुद्धका विविध अवतार थिए लाथानमा । नभन्दै यो नाङ्सालको तेज चमकचमक गर्दै सर्वत्र पुग्दोरहेछ । बुबाले आमालाई अघि नै तल ओर्लने बेलामा तामाङ भाषाबाट यही भन्नुभएको थियो कि, ‘यो नाङ्साल बाल्न नर्बिस ।’

हरेकपटक घर पुगेपछिको साँझ सधैंजसो बुबासँग मेरो भलाकुसारी चल्थ्यो । कहिले मैले पढिरहेको पुस्तकको विषय, कहिले दिन कसरी व्यतीत भयो भन्ने सन्दर्भ त कहिले खानपिन, समसामयिक राजनीतिक घटना अनि सामाजिक विषय कुराकानीमा आउँथे । समयको रफ्तार घाम घुमेजस्तो यतिबेला हामी सन्तानहरूको काँधमा आइपुगेको थियो । ‘बुबा आउनुभयो, पापा ल्याउनुभयो भन्थ्यौं’ कुनै समय । आज समयको फेरो ठीक उल्टो विन्दुमा पुगेको छ, हातको झोला बिसाउन नभ्याउँदै बुबाको सुलभताले मीठो स्पर्श गर्छ कानमा र कति समृद्ध कान्ति देखिन्छ त्यतिबेलाको स्लो मोसन होप एन्ड लभ एटिच्युड– ‘के ल्यायौ ? के छ झोलामा ?’ बुबाको हात त्यही सुलभतासाथ बिस्तारै सगबगिन्छ झोलातर्फ ।
कहिलेकाहीँ हतारोले केही लैजान पाउँदिनँ । त्यसबखत बिहान खाना बोकेर हिँडेको टिफिनबक्स बुबाले खोल्दै–लाउँदै गरिरहनुहुँदा समयको झरी फेरि त्यो स्कुलको बाल्यकालतर्फ बर्सिन पुग्छ, जतिबेला म ‘सधैं एउटै खाजा’ भन्दै बुबाको अगाडि हुप्प फुलेर बसेकी हुन्थें । अचेल मैले बोक्ने प्लास्टिकको झोलाले बुबाले बोक्ने गर्नुभएको रंगीचंगी नाइलनको बाक्लो झोलालाई झन् सम्झाइदिन्छ । आफ्नो ब्यागसँगै बुबाका लागि र आमाका लागि खत्र्याकखुत्रुक राखेर झोला बोक्दा खुसी हुने पुस्ता हुँ भनेर असाध्यै रमाउँछु पनि ।
एउटा अर्को साँझ केही मीठा खानेकुरा लिएर घर पुगें । बुबा झ्याम्मिन आउनुभएन । बुबाको अनुहार उज्यालो थिएन । कारण पूर्वानुमानित नै थियो । बिहान केही कड्केर भनेकी थिएँ, ‘सुगर र प्रेसरलाई कन्ट्रोलमा राख्न अलिकति खानपानमा होस गरिदिनुहोस् । बुबाले बार्नुपर्ने कुरा हामीले बार्न मिल्दैन, यो तपाईंलाई कन्ट्रोल होइन, हाम्रो माया र भक्ति हो ।’
आमा र बहिनीबाट थाहा पाएँ कि बुबालाई खुब रिस जागेछ, घरबाट टाढा एक्लै जानुहुन्न भन्ने डाक्टरको परामर्श नाघ्नुभएछ । साँझतिर मात्रै आउनुभएछ । म अफिस हिँडेपछि दूध र खाना केही पनि खानुभएन छ । बाटैबाटो एकतमास हिँड्नुभएछ । मैले चित्त दुखाई भन्दै कहीँकतै एक्लै बसेर रुनुभएछ । अनि शान्त भएर घर फर्किनुभएछ । अनि बल्ल केही फलफूल खानुभएछ ।
त्यो साँझ बुबाको मुहार केही फुलेको र रातो देखिन्थ्यो । उहाँ लामो समय ओच्छ्यानमै टोलाएर बस्नुभयो । तनावग्रस्त अनुहार, रसिलो आँखा र झुकेको शिर । दुनियाँभरको झिटीझ्याम्टा उत्तरदायित्व फुत्त झट्कारेर बुबासँग माफी माग्न मन भयो— पिताप्रेमले पूरै गाल्यो शरीर ।
‘आजलाई आराम होस्’, मनैमनमा माफी मागें ।
नियमित औषधि लिएर बुबा ओच्छ्यान पस्नुभयो । म आमालाई खोज्न गएँ लाथानमा । आमाको सुमसुम चल्दै थियो, लाथानमा । ‘छ्योबोको प्रसाद खाऊ न’, आमाले बुद्धथानमा चढाएको केही फलप्रसादी दिनुभयो ।
‘लौ अहिले त अर्कै नाङ्साल छ त, खोइ त्यो अस्तिको डल्लो झिलिमिली ?’ ‘केही दिन भयो बिग्रेर बनाउन लगेको बाउले, बनेन रे’ ‘अनि अर्को लिएर आउनुभएछ आजै,’ आमाले भन्नुभयो । ‘ए ! म ल्याइदिन्थें नि त्यस्तै झिलिमिली, मलाई भन्नुभएन ?’ ‘तिमीले धेरै तिरिमिरी भयो भन्यौ, त्यसैले यो ल्याएको होला नि ।’ ट्याक्क स्विच दबाएँ । मधुर गुलाबी रङ र पहेंलो किरण छर्दै नाङ्साल बल्यो । बुबाको आस्था, सन्तानप्रतिको भक्ति यो स्विचसँगै छरपस्टियो, उज्यालियो । बुबाले मिलाएर राख्नुभएका हिन्दु देवताका फ्रेम र बुद्ध अवतारका चित्रहरू दुवैमा बराबरी उज्यालो छायो ।
‘मान्छेले देवता मिलाइदिएकै छन् तर देवताको नाममा पो मान्छे मिल्दैनन् त,’ बुबा हमेसा भन्नुहुन्थ्यो ।
मेरो मन बेस्वादले उम्लेर आयो । बुबाले भित्तामा सजाएका सारा देवताका फ्रेमलाई हेरें । मनमनै भनें, “आखिर यी ‘भगवान्’ लाई पनि त उहाँहरू नै उज्यालो दिइरहनुभएको छ नि ।” आमा र म तल ओर्लिंदै गर्दा बुबाले दिदीलाई भन्दै हुनुहुँदो रहेछ, ‘आम्से नाङ्साल म्राथान्जी कि आथान्जी, ङ्योइगो ।’ (आमाले नाङ्साल बालेर राख्यो कि राखेन सोध ।) ।
त्यस रात जब बुबा मेरै सिरानीतर्फ कोल्टे फर्केर निदाइरहनुभएको थियो, मैले बुद्ध सम्झें । भित्तामा बुद्ध अवतारका थाङ्काहरू थिए, एउटा अवतारको कानचाहिँ केही सानो देखिन्थ्यो, चित्रकारले बिगारेछ भन्नुहुन्थ्यो बुबा । निद्रामा बुबाको लाम्चो सेतो अनुहार सलक्क सुस्ताइरहेको लाम्चो कान, बुद्धको सुन्दर तेजोमय स्वरूप बुबाको मुहारमा थपक्क बसेपछि मतिर फर्केर भन्यो, ‘तिम्रो जिन्दगीको नाङ्साललाई कहिल्यै निभ्न नदिनू छोरी । ओम माणी पद्ये हुँम् !’
पलाँसजी, हेल्लो पलाँसजी ! तपाईं किन टोलाउनुभयो ?
‘उफ... आतुङ एउटा कालो पर्दा उघ्रियो । तपाईंले बुबाको एन्जाइटीलाई खुसीले स्याहारेर माया नै माया भित्र्याउनुभयो । मैले ड्याडीलाई मेरो खुसीका लागि यूके पठाएँ बहिनी ज्वाइँसँग बस्न । बहिनीले आफ्नो खुसीका लागि ओल्ड केयर होममा राखिदिई । हामीले खुसीलाई पन्छाउँदै अल्जाइमर भित्र्यायौं । आज बुबाले हामीलाई चिन्नु पनि हुन्न ।’ पलाँसजी त घुँक्कघुँक्क रुनु थाल्नुभो । उनको आँसु बेगवान आँधी र अनियन्त्रित खसेका असिनाको दानाझैं लाग्यो, जो उनलाई उफ्रीउफ्री झम्टिरहेको थियो... ।

Page 22
कोसेली

भारतका बाबाहरू

रवीश कुमार

रजस्वलाको सुरुआतमा धेरैजसो महिला कठिन परिस्थितिमा हुन्छन् । घरको सबभन्दा शुद्ध अनि पवित्र ठाउँमै हुँदा रगत बग्यो भने ? जस्तो ः खाना पकाइरहेका बेला भान्सामा वा सरसफाइ गरिरहेको बेला पूजाकोठामा वा अन्य कुनै त्यस्ता शुद्ध अनि पवित्र ठाउँमा महिनावारी हुँदा बस्न वर्जित छ । केही दिनसम्म भान्साको कुनै काममा हात लगाउन वर्जित छ । तर यो मासिक चक्र हरेक महिना हुने कुरा हो । यसमा कसैको हात हुँदैन । वर्षदिनभित्र यस्ता घटना भइरहन्छन् । यस पापबोधबाट फुक्का गर्ने एउटै दिन छ, ऋषि पञ्चमी ।
युट्युबमा यस प्रकारको बयान दिइरहेका एक बाबाको भिडियो हेरिसकेपछि मैले उनलाई चिनेँ । ती बाबालाई टेलिभिजनको तीन लोकप्रिय न्युज च्यानलले आफ्ना कुनै न कुनै कार्यक्रम प्रस्तुत गरेका थिए । युट्युब अनि अन्य ठाउँमा मैले ती बाबाका भिडियो हेरेँ । कुन न्युज च्यानलले उनलाई प्रस्तुत गर्‍यो ? त्यस च्यानलको नाम यहाँ लिनु जरुरी छैन ।
एनडीटीभीबाहेक प्रायःजसो टेलिभिजनका हरेक च्यानल अनि हरेक भाषाका वेबसाइटले यस किसिमका कार्यक्रम प्रस्तुत गर्छन् । ती कार्यक्रममा राशिफलदेखि अर्ती–उपदेश दिने किसिमका कार्यक्रम पनि हुन्छन् । जस्तो मैले भर्खरै हेरेँ । मेरो आशय ती कार्यक्रमहरूमा के भनिन्छ, समयअनुसार त्यसमा कति कुरा परिवर्तन भए अनि हाम्रो समयको कस्ता चिन्तालाई लिएर त्यसमा बहस हुने गर्छ भनेर जाँच गर्नु हो ।
युट्युब अनि टेलिभिजनहरूमा बाबाहरूले कस्तो किसिमको धर्मशास्त्रीय ज्ञान बाँडिरहेका वा सिफारिस गरिरहेका छन् ? रजस्वलाका आदिम धारणा भत्काउने कोसिसमा जुटेका नारीको आँखाबाट हेर्दा त्यो कस्तो देखिन्छ ? म यो कुरा पनि बुझ्न खोजिरहेको छु ।
सतहमा स्पष्ट देख्न सकिन्छ, कसरी ती रंगीन बाबाहरू न्युज च्यानलतिर आउँछन् अनि पुराना अन्धविश्वासहरूलाई उधिनेर आधुनिक सन्दर्भमा पुनःस्थापित गर्न चाहन्छन् ? तिनीहरू समझदार हुन्छन् अनि हुन्छन् त्यत्तिकै बुद्धिमान पनि । कुनै क्रान्तिका लागि उनीहरू हाम्रा अगाडि आएका होइनन् । आदिम समयमा पुगेर आयुर्वेदको युगलाई फर्काउन पनि उनीहरू टीभीमा देखा परेका होइनन् । तर उनीहरू यस्ता सेल्सम्यान हुन्, जो मानव समाजलाई कष्ट दिइरहेका १ सय ८ बिमारीको एउटै औषधि बेचिरहेका छन् । यस प्रक्रियामा उनीहरूले आफ्नै आर्थिक साम्राज्य खडा गरिरहेका छन् । परम्परामाथि एकोहोरो भक्तिले यो काम पूरा हुने होइन । त्यसैकारण ती बाबाहरू उदार भावनाले आधुनिकतालाई ठाउँ दिन्छन् । उनीहरू आफ्ना बकवास विचारहरूलाई आधुनिकताका परिधिभित्र राखेर काम गर्ने परम्परा स्थापित गर्न व्याकुल छन् । यसबारे म अलिपछि टिप्पणी गर्नेछु ।
टेलिभिजनका आलोचकहरूले राति प्रसारण हुने प्राइम टाइम कार्यक्रममा देखाइने गलत कुरा खोज्नका लागि आफ्ना सारा ऊर्जा खर्च गरिरहेका छन् । यी कार्यक्रमहरूको मुख्य मुद्दा भनेको महिलाहरूको सुरक्षा सवाल अनि सहरको साँघुरा ठाउँहरूमा महिलाहरूलाई कसरी उन्मुक्त बनाउने भन्ने हो । उनीहरूको दिमागबाट ती ज्योतिषी वा एङ्करहरू उम्कन्छन्, जो बिहानको प्राइम टाइममा खचाखच भरिन्छन्, जो आफ्नो कपडा अनि आचरणले अनुकूल अवसर बनाइदिन्छन् अनि समाजको ठूलो तप्का– विशेषगरी महिलाहरूको असुरक्षाको स्थितिलाई
सुदृढ गरिदिन्छन् ।
ज्योतिषशास्त्र वैध हो कि होइन भन्ने बहस थोत्रिइसक्यो । एक–दुईजना छोडेर मलाई त्यस्तो मान्छे थाहा छैन, जो आफ्नो समस्या सुल्झाउने हेतु ज्योतिषीलाई छाडेर डाक्टरको शरण पर्छन् । यसले समाजमा गहिरो गरी जरा गाडेको छ ।
हिन्दी भाषामा ब्रोडकास्ट गर्ने बाबाहरूको तुलनामा अंग्रेजी भाषा अपनाउने बाबाहरू फरक वर्गमा छुट्टिन्छन् । दैनिक राशिफल नदिएर त्यसको ठाउँमा उनीहरू बेचैन क्रेताहरूलाई जीवन प्रबन्धक पिल्स दिन्छन् । अंग्रेजी बोल्ने बाबाहरूसँग बडो शान्तपूर्वक अन्तर्वार्ता लिइन्छ अनि अंग्रेजी बाबाहरू हिन्दी बाबाहरूलाई अपमानको दृष्टिले हेर्छन् । एक गरिबले अध्यात्मका लागि कुनै बाबाको शरण लिँदा त्यो अन्धविश्वास भइदिन्छ । तर धनी अध्यात्मका लागि कुनै बाबातिर धाउँदा त्यो तनाव प्रबन्धक कोर्स साबित भइदिन्छ ।
डेरा सच्चा सौदा सिरसाका प्रमुख गुरमित रामरहिम सिंहलाई जब दुई बलात्कारको मामिलामा जेल पठाइयो, धेरै ठाउँमा उनी अनि उनका भक्तबारे लेखियो— गरिब मात्र बाबाहरूको प्रभावमा आउँछन् । यो एक बकवास हो । यसमा धनी अनि मध्यम वर्गका मान्छे पनि गुरमितजस्ता बाबाको शरण पर्छन् । एउटा भिन्नता के भने ती धनीहरू अंग्रेजीमा बोल्छन् अनि एलोभेरा जुस बेच्ने काम गर्छन् ।



समकालीन भारतमा राजनीतिक नेता अनि मन्त्रीहरूले यस्ता गुप्त पूजाको आयोजना गर्छन्, जसमा लाखौँ खर्च हुन्छ । यो खर्चबारे कसैले कसैसँग कुरा गर्दैन, जो न प्यान कार्डले रेकर्ड गर्छ, न आधार नम्बरले । हाम्रो राजनीतिक वर्ग यस्ता अन्धविश्वासको मुख्य अभिभावक हो । क्रिकेटरहरूदेखि समाजका जानेमाने मान्छेहरू पनि यस्ता अन्धविश्वासलाई सही ठहर गर्छन् । डेरा सच्चा सौदाका समर्थकहरूलाई यस अर्थमा अज्ञानी भन्न सकिँदैन ।
यो भन्न तर्कसम्मत हुँदैन, ती बाबाहरूको उत्पत्ति अनि बढ्दो संख्याको मुख्य कारण समाचार च्यानलहरू हुन् । ती बाबाहरूको आफ्नै च्यानलहरू छन्, जसको सहायताले नागरिकसँग संवाद गर्छन् । यस्ता धेरै सूचनात्मक च्यानलहरू पनि छन,् जहाँ नयाँनयाँ बाबाहरूका उत्पत्ति हुन्छ । बाबाहरूको आफ्नै वेबसाइट अनि सामाजिक सञ्जालको टिम छ । सबै बाबाहरू ज्योतिषी हुन् अनि सबै ज्योतिषीहरू बाबा । यसले उनीहरूलाई धेरै अरू मञ्च दिने काम गर्छ । ज्योतिषशास्त्रका कार्यक्रमहरूका लागि हिन्दी च्यानलहरूबीच उग्र प्रतिस्पर्धा चलिरहेको छ । हरेक कार्यक्रम आफैँमा एक ब्रान्ड हो ।
अब तिनै बाबातिर फर्कौं, जसले युट्युबको भिडियोमार्फत रजस्वलाबारे महिलाहरूलाई सल्लाह दिइरहेका थिए । बाबाले आयोजना गर्ने विशेष कार्यक्रमका धेरै प्रकरणको एउटा ट्यागलाइन छ, सात जन्मसम्म नसकिने पैसा कसरी कमाउने ? थाहा पाउनुहोस् । भारतका करोडौँ मान्छे गरिबी रेखामुनि छन् । जो यस रेखादेखि माथि छन्, उनीहरू पनि संघर्ष गरिरहेका छन् । तिनीहरूलाई सात जन्मसम्मका लागि धन पाइन्छ भन्नु रकेट साइन्स होइन— यसले कसलाई लोभ्याउँदैन ?
आफ्नो कार्यक्रममा बाबाले दाबा गरेका छन्— १६ वर्षसम्म १६ दिन देवी महालक्ष्मीको व्रत राख्नेले निरन्तर धनको आपूर्ति पाउनेछ । उनी आफैँले पनि यस व्रतलाई १६ वर्षसम्म पालन गरेको अनुभव सुनाए । उनले कमाएको धनको कारण व्रत हो या टेलिभिजनको कार्यक्रम ? मलाई यो कुरा बुझ्न गाह्रो भयो । उनले धनी मान्छेहरूको नाम उल्लेख गरेर भने— उनीहरू चाहे जुनसुकै तरिका अपनाउन्, उनीहरू धनी नै रहिरहनेछन् । ती धनी मान्छेहरूलाई भ्रष्ट नभनेर बाबाले भने— उनीहरूले पनि कुनै न कुनै जन्ममा महालक्ष्मीको व्रत पालन गरेका होलान्, जसको कारण यस जन्मसम्म धनी छन् । बाबालाई ती मान्छेहरू कसरी धनी भए ? त्यो कुरा त थाहा छँदैछ, यो पनि थाहा छ— हरेक मान्छेको नजर ती फाइदातिर हुन्छ, जो यस किसिमका मान्छेबाट असुल्न सकिन्छ ।

(स्पिकिङ टाइगरद्वारा प्रकाशित ‘द फ्री भ्वाइसः अन डेमोक्रेसी, कल्चर एन्ड द नेसन’ किताबलाई लेखनाथ क्षत्रीको अनुवादमा सांग्रिला बुक्सले ‘मुक्त आवाज ः लोकत्रन्त्र, संस्कृति र राष्ट्रवादबारे’ शीर्षकमा प्रकाशित गरेको छ ।)

कोसेली

किताबले अप्ठेरोमा पारेनन्

पुस्तक संवाद
- विप्लव प्रतीक

अचेल के पढ्दै ?
म के पढ्दै छु भन्ने कुरा मेरा लागि नितान्त निजी कुरा हो, आफ्नो प्रेमलाई सार्वजनिक गर्नुजस्तै । किनभने किताब पढिरहँदा म त्यो किताबका पात्र, लेखक र त्यस किताबको संसारसँग प्रेमले निथ्रुक्क भिजेको हुन्छु ।

नाम लिनैपर्ने बाध्यता आयो भने ?
भीएस नयपालको ‘बियन्ड बिलिफ’ पढ्दै छु ।

तपाईँका विचारमा पढ्नु केका लागि होला ?
मानिस जिज्ञासु प्राणी हो । पाकाबाट, यात्राबाट, स्वचिन्तनबाट या असल किताबबाट उसको जिज्ञासा शान्त हुने मार्गमा प्रवेश गर्छ । यो मेरो विचार हो, मेरो जीवन दर्शन हो र पढ्नुको लत मलाई प्रिय लाग्छ ।

हाल सालै पढेको र हृदयस्पर्शी कुनै किताब ?
सेपियन्स’ । यति सुन्दर ढङ्गले कसैले मानवजातिको इतिहास यसअघि लेखेको थिएन । गैरआख्यान विधामा यति विनीत तरिकाले कसैले आफ्ना तर्कहरू विरलै राखेका होलान् । विभिन्न किताब पढेर मैले बनाएको विचार यस किताबमा एकै ठाउँमा समेटिएकाले पनि म यसको प्रशंसक भएको हुँ ।

मन परेको किताबलाई के गर्नुहुन्छ ? देखिने ठाउँमा सजाउनुहुन्छ या सिरानीछेउ राख्नुहुन्छ ?
मन परेको किताब पढेपछि म खोजीखोजी इच्छुक परिचित पाठक पहिल्याउँछु र त्यो किताब उपहार दिन्छु । मलाई असल लागेको किताब, सिनेमा र सङ्गीत म साथीहरूसँग सेयर गर्न खुब रुचाउँछु ।

नेपाली साहित्यमा प्रकाशित पछिल्ला आख्यान/गैरआख्यानमाथि तपाईंको टिप्पणी भनिदिनोस् न !
समकालीन युवाहरूमा पढ्ने रुचि जागेको छ, व्यावसायिक प्रकाशन संस्था छाप्न अघि सरेका छन् । यो शुभसंकेत हो । तर, केही कृति छाडेर अधिकांश कृति तृप्त पार्ने खालका भेटिँदैनन् । असल कृतिहरू फाट्टफुट्ट मात्रै पढ्न पाइन्छ । यसमा लेखकको दोषभन्दा पनि समयले हामीलाई दिएको सजाय भन्ठान्छु म । डिस्ट्र्याक्सन प्रशस्त छ । टीभी छ, सोसियल मिडिया छ, भौतिक जिम्मेवारी छ, सोसियलाइजिङ छ र आम्दानीरहित सेलिब्रिटीको ट्याग छ, लेखकहरू गरून् त के गरून् ? भागेर जाऊन् त कहाँ जाऊन् ? कसरी डिस्ट्र्याक्सनबाट जोगिएर केन्द्रित गरून् आफैँलाई गम्भीर लेखनमा ? लोकप्रिय हुन कोही चाहन्छन् भने ती लोकप्रिय अवश्य हुन्छन्, तर उनीहरूभित्रको लेखक हराइसक्छ । लेखकलाई जोगाइराख्यो भने लोकप्रिय हुने गुञ्जाइस सधैं रहिरहन्छ । यो कुरा बुझ्ने नेपाली लेखकहरू अझै बाँकी छन्– यो पनि शुभसंकेत हो ।

तपाईँले पढेका सामाजिक–राजनीतिक–ऐतिहासिक किताबमध्ये पाठकलाई कस्ता किताब रिफर गर्न चाहनुहुन्छ ?
डा. हर्क गुरुङको ‘मैले देखेको नेपाल’, तीर्थबहादुर श्रेष्ठको ‘नेपाल नखुलेका पाटाहरू’, कमलप्रकाश मल्लको ‘द रोड टु नोह्वेर’, बाबुराम आचार्यको ‘अब यस्तो कहिल्यै नहोस्’ र मोहन मैनालीको ‘देखेको देश’ अहिले झटपट सम्झिएका केही किताबहरू हुन् ।

नेपालीमा कस्ता पुस्तक लेखिएका छैनन् ? कस्ता लेखिनुपर्ला ?
नेपाली इतिहास नै राम्ररी लेखिएको छैन । सामाजिक र सांस्कृतिक बनोटका बारेमा लेखिनुपर्ने कति धेरै छ, त्यो लेखिएको छैन । गम्भीर अनुसन्धान गरेर लेखिनुपर्ने कैयन् गैरआख्यान विषयहरू छन्, ती पनि लेखिएका छैनन् । स्रोतविहीन, तथ्यरहित र कल्पित होइन, लेखिनुपर्नेछ स्रोतसहित, तथ्यपरक र विश्वसनीय । किरातकालीन इतिहास, लिच्छवी इतिहास, मल्ल शासनकै इतिहास खोई ? राणा गए, राजा गए । तर, के जानेबित्तिकै तिनका पालामा भएका स्वाभाविक वा नियोजित रूपान्तरणका कुरा आउनुपर्ने होइन र ? त्यो कालखण्डको निष्पक्ष तस्बिर आउनुपर्ने होइन र ? त्यस्ता नलेखिएका धेरै विषय छन् । आशा गरौँ, त्यस्ता किताब आउलान् ।

पढ्नका लागि किताब कसरी छान्नुहुन्छ ?
लेखकको नाम, प्रकाशक र समीक्षामार्फत । केही मेरो इन्ट्युसन अर्थात् सहजबोधले पनि काम गर्छ । बिकाउ शीर्षक भएका कुनैकुनै किताबचाहिँ म किन्दिनँ, पढ्दिनँ । जस्तो कि एउटा अंग्रेजी किताब छ ‘इफ यू मिट द बुद्ध अन् द रोड, किल हिम’ । किताब बेजोड होला, तर शीर्षक पढेपछि ठगिन्छु कि भनेर डर लाग्यो । किनिनँ, कतै भेटिँदा पढिनँ पनि ।

हाम्रो समाज र इतिहासमाथि लेखिएका किताबका कमजोर पक्ष के होलान् ?
केही लेखक छन्, जो जेबाट प्रेरित हुन्छन्, त्यसलाई साबित गर्ने कोसिस गर्छन् । केही लेखक छन्, जो पश्चिमको सिद्धान्तलाई औजार बनाएर लेख्छन् या भनूँ पश्चिमालाई रिझाउन चाहन्छन् र केही लेखक छन् जो यसो लेखे त्यो रिसाउला कि भनेर सत्यलाई बर्को ओढाएर आफ्नो मगजको कन्तुरमा लुकाएर राख्छन् ।

पढ्नु तपाईंका लागि के हो ? आनन्द, बाध्यता कि ज्ञानको अभिप्सा ?
शक्ति कसलाई मन पर्दैन ? राजनीतिज्ञलाई सत्ताको शक्ति, विद्वान्लाई ज्ञानको शक्ति र निर्बललाई बलको शक्ति । त्यो शक्ति कुनै पनि बेला उन्मादमा परिणत हुने डर हुन्छ । जब त्यो शक्ति उन्मादमा परिवर्तित हुन्छ, त्यो सारहीन हुन्छ । त्यसैले उहिले ज्ञानको अभिप्सा हुन्थ्यो होला, अहिले होइन । बाध्यता त हुँदै होइन । सायद आनन्दले पछि लाग्न छाडेको छैन ।

पढेमध्येको ‘बेस्ट बुक’ कुन लाग्छ ?
एउटै मानिससँग मात्र जीवनभरि संगत गरियो भने त्योजस्तो दुःखदायी कुरा के होला र ? त्यो मानिससँगसँगै विभिन्न मानिससँग संगत भयो भने त्यसले सबै सम्बन्धलाई कम्प्लिमेन्ट गर्ला, होइन र ? त्यसैले एउटै बेस्ट बुक त कसैको पनि हुन्न होला । मेरा बेस्ट बुकहरू जिब्रानका छन्, दस्तएभ्स्कीका छन्, चेखब र टोल्स्टोएका छन् । सधैं प्रिय किताबहरूको सूचीमा अरू थुप्रै छन्, जस्तै हर्मन हेस्सेको ‘सिद्धार्थ’ र जे. कृष्णमूर्तिको ‘फ्रिडम फ्रम नोन’ ।

पढ्नु नपर्ने किताब पनि छन् तपाईँका सूचीमा ?
चीनका जो एन लाईले छापिएको किताब वा पत्रिकाको च्यातिएका टुक्रा मात्रै भेटे भने पनि जे जति पढ्न सकिन्छ पढ्थे रे । मलाई त्यो गजब लाग्यो । त्यसैले पढेकै राम्रो । असल परेछ, दिमागमा आनन्दको रसायन बग्छ, राम्रै भयो । कमसल परेछ, असलको खोजी जीवित रहन्छ– त्यो पनि राम्रै भयो ।

तपाईँ सानो छँदा घरमा वा स्कुलको पुस्तकालयमा कस्ता खालका किताब थिए ?
त्यतिखेर बाको आफ्नै संकलन थियो— अंग्रेजी, हिन्दी र नेपाली साहित्यका । स्कुलको वाचनालयमा विभिन्न विषयका किताबहरू थिए, तर तिनमा विद्यार्थीलक्षित किताबहरू मात्रै हुन्थे । साहित्य पनि पाठ्यक्रममा सामेल भएका मात्रै । तर, टोलमा भएको पुस्तकालय भने मेरो प्रिय थियो । त्यहाँ देशविदेशका हिन्दी र अंग्रेजी किताबहरू प्रशस्त थिए । घरमा टैगोरको ‘गोरा’ पढेर सुरु भएको मेरो पठन सफर टोले पुस्तकालयमा इब्ने सफी, कर्नल रञ्जित र जेम्स हेडली चेजका जासुसी उपन्यासहरू हुँदै निकोलाई आस्त्रोभ्स्की, तुर्गनेव, सोलोखोव, दोस्तोएभ्स्की र चेखभतिर लम्कियो ।

किताब छान्न पूर्वअध्ययनले कत्तिको काम गर्छ ?
सपिङमा जति धेरै अपडेट भयो उति ज्यादा उपयोगी भएजस्तै पूर्वअध्ययनले निश्चित रूपमा छनोट गर्न पाठकलाई सहज बनाइदिन्छ ।

स्कुल वा क्याम्पसका सुरुआती दिनमा पढेका कस्ता किताब जीवनमा उपयोगी भए ?
म सोह्र वर्षको छँदा आस्त्रोभ्स्कीको ‘हाउ द स्टिल वाज टेम्पर्ड’ भन्ने किताब पढेको थिएँ । जिन्दगीमा कसैको पनि चित्त दुखाउनु हुँदैन भन्ने शिक्षा मलाई त्यही किताबले दिएको थियो । त्यस्ता उदाहरणहरू धेरै छन् । मैले नेपाली, अंग्रेजी वा रुसी जे जति साहित्यिक कृति पढेँ ती नै मेरो सोचलाई एउटा स्वरूप दिन सक्षम रहे, उपयोगी रहे ।

तपाईंसँग कति किताब छन् घरमा ? तीमध्ये प्रिय पाँचको लिस्ट बनाउनुस् न !
मसँग किताब आउँछन् र जान्छन् । अहिले बचेका अन्दाजी पाँच सय जति होलान् । जो प्रिय छैनन् ती पनि छन्, जो प्रिय छन् ती पनि छन् । जो प्रिय छन्, रहने भैहाले । जो प्रिय छैनन्, अरूलाई दिएर पठाउन मनले मान्दैन । अप्रिय किताब किन उपहार दिनु ? बरु प्रिय नै दिँदा मनमा आनन्द आउँछ । प्रिय पाँचभन्दा पनि मलाई प्रभाव परेकामध्ये केहीचाहिँ हर्मन हेस्सँको ‘सिद्धार्थ’, टल्स्तोईको ‘अ कन्फेसन’, तुर्गेनेभको ‘फादर्स एन्ड सन्स’, रबर्ट एम. पर्सिगको ‘जेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स’ र जोन स्टेनबेकको ‘द ग्रेप्स अफ र्‍याथ’ हुन् ।

किताबको कन्टेन्ट राम्रो/नराम्रो हुनुको कारण के होला ?
त्यसको समीक्षा गर्ने वा कारण भन्ने मसँग हैसियत छजस्तो लाग्दैन । यति भन्न सकिन्छ कि कुनै सिकारुले लेख्दा कन्टेन्ट छनोटमा चुक्न सक्छ सायद, अलि सिद्धहस्त भयो भनेचाहिँ कन्टेन्टमा गम्भीर हुन्छ होला । यो मेरो अनुमान मात्र हो ।

किताबबिनाको जीवन र पुस्तकालयबिनाको देशको कल्पना गर्न सक्नुहुन्छ ?
किताबबिनाको जीवन थियो, अहिले पनि छ । जो श्रमिक छन्, किताब कठै तिनको हत्केलामा पुगेको होला र ? र, ती पिछडिएका मुलुकका किसानहरू, तिनको हातले धानको बाला सुम्सुम्याउनबाट फुर्सद पाएका होलान् र ? बस्, एउटा आशा छ, कुनै दिन तिनको संघारमा शिक्षा पुग्नेछ, काखमा किताब पुग्नेछ र तिनको आर्थिक स्तरोन्नति भएर तिनले पनि कुनै किताबमा आफ्नै कहानीको आस्वाद लिन पाउनेछन् ।

लेखनका क्रममा बेहोर्नुभएको प्रमुख अप्ठेरो के हो ?
मैले जीवनमा भोगेका ‘सुखद र अन्तरंग’ कष्टहरू नै मेरा मार्गदर्शक हुन् । तिनले मलाई कहिल्यै पनि अप्ठेरोमा पारेनन् । मेरो माध्यमबाट आएका कविताहरू तिनैका प्रतिफल हुन् । मैले उपन्यास वा संस्मरण लेख्दा पनि लगभग तिनैबाट काम टरे । लक्की आई एम !

(लेखक विप्लव प्रतीकका उपन्यास ‘अविजित’ र कवितासंग्रह ‘नहारेको मान्छे’ प्रकाशित छन् ।)

Page 23
कोसेली

संस्कृतको अशुद्ध उच्चारण

भाषा
- माधव प्रसाद पोखरेल

संस्कृत विश्वको सबभन्दा धनी भाषा हो । संस्कृत मात्र विश्वको त्यस्तो भाषा हो, जसमा ऋग्वेद (इपू. १५००–१२००) देखि आज सम्म झन्डै साढे तीन हजार वर्ष सम्म अटुट रूपमा ग्रन्थहरू लेखिएका भेटिन्छन् । पाणिनि (इपू. चौथो शताब्दी) ले लेखेको संस्कृत भाषाको व्याकरण (अष्टाध्यायी सूत्रपाठ) मा झन्डै ४००० ओटा बीजगणितीय सूत्रहरूले ऋग्वेददेखि आज सम्म लेखिने संस्कृत भाषाका नियमहरू समेटेको छ । कम्प्युटरको प्रोग्रामिङमा पाणिनिको त्यो व्याकरण सबभन्दा सजिलो सिद्ध भएको छ । त्यो व्याकरण जत्तिको यान्त्रिक व्याकरण आजको कम्प्युटरको युगमा पनि सम्पूर्ण प्राविधिक साधनले सुसज्जित आधुनिक युगका पाणिनि मानिने एमआइटीका प्राध्यापक मेरा गुरु चोम्स्कीले पनि अङ्ग्रेजी लगायत विश्वको अरु कुनै भाषाको व्याकरण बनाउन सकेका छैनन् । त्यो काम कम्प्युटरले पनि गर्न सक्छ कि सक्तैन, थाहा छैन ।
पाणिनिले आफ्नो व्याकरणको सुरुमै संस्कृत भाषाको वर्णमाला ‘अइउण्’, ‘ऋलृक्’, आदि चौध ओटा सूत्रका आधारमा दिएका छन् । समग्र भाषाको शब्द निर्माणमा उपयोग गरिने वर्ण परिवर्तनका नियमहरू कम्प्युटरैले बुझ्ने गरी पाणिनिले बनाएको संस्कृतको त्यो वर्णमालासँग एक छेउ मात्र पनि विश्वको कुनै भाषाको व्याकरणमा पाइने वर्णमालाले होड गर्न सक्तैन । अष्टाध्यायीमा वर्णहरू एकातिर शब्द निर्माणमा लाग्ने वर्ण परिवर्तनका नियमहरूसित यान्त्रिक रूपमा उपयोग हुने गरी अनि अर्कातिर ध्वनि वैज्ञानिक (फोनेटिक) कसीमा पनि ठ्याक्क मिल्ने गरी सजाइएका छन् ।
संस्कृत व्याकरण परम्परामा दुई किसिमका वर्णमाला छन् । (क) पाणिनिको संस्कृत वर्णमालामा वर्ण वैज्ञानिक (फोनिमिक) दृष्टिले आदर्श रूपमा वर्णहरू सजाइएको छ भने, (ख) ध्वनि वैज्ञानिक (फोनेटिक) रूपले संस्कृत भाषाका वर्णहरूलाई आदर्श रूपमा सजाइएको संस्कृत भाषाको अर्को वर्णमाला छ, जसलाई नेपालीहरू ‘नेपाली वर्णमाला’ भनेर चिन्छन् । संस्कृतका व्यञ्जन वर्णहरू सजाउने यो दोस्रो खालको वर्णमाला चाहिँ सबभन्दा पहिले ऋग्वेद प्रातिशाख्य र वाजसनेयी प्रातिशाख्य (इपू पाँचौँ शताब्दी) मा पाइएको हो ।
लन्डनको गुरुकुलका भाषा वैज्ञानिक फर्थ (१९३४ इ, ‘द वर्ड ‘फोनिम’) लेख्तछन्, भारतीय व्याकरणकार र ध्वनि वैज्ञानिकहरूको (विलियम) जोन्स (१७८६ इ) ले दिएको सूचना विना हाम्रो युरोपको १९ औँ शताब्दीको ध्वनि विज्ञानका गुरुकुलको कल्पना गर्नु पनि गारो छ (माधव पोखरेल, २०५४, ‘ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनि परिचय’, पृ. १५) । प्राध्यापक फर्थले सङ्केत गरेको ध्वनि विज्ञान चाहिँ पाणिनिको होइन, प्रातिशाख्यहरूको हो ।
पश्चिममा ध्वनि विज्ञानको जन्म १९ औँ शताब्दीको उत्तरार्धमा लन्डनकै गुरुकुलमा भएको हो । विश्वको जुनसुकै भाषा सिक्न र सिकाउन त्यस भाषाको शुद्ध उच्चारण नसिकी र नसिकाई हुँदैन । त्यो काम लन्डनमा हेन्री स्विट (१८७० इ) र डेनियल जोन्स (१९१८ इ) ले थाले । आज संसारभरका भाषाहरूको शुद्ध उच्चारण लेख्न जुन अन्तरराष्ट्रिय ध्वनि वैज्ञानिक वर्णमाला प्रयोग गरिन्छ, त्यो लन्डनको गुरुकुलकै पल पासी (१८८९ इ) ले बनाएका हुन्, तर फर्थले भने झैँ, लन्डनको गुरुकुलका भाषा वैज्ञानिकहरूले वैदिक प्रातिशाख्य पढ्न नपाएका भए, पश्चिममा ध्वनि विज्ञानको जन्म हुने कल्पनै गर्न सकिने थिएन, तर हामी माल पाएर चाल पाउँदैनौँ । भारतीय उपमहाद्वीपको कुनै पनि संस्कृत विद्यालयमा प्रातिशाख्य (ऋग्वेद प्रातिशाख्य, तैत्तिरीय प्रातिशाख्य, वाजसनेयी प्रातिशाख्य, ऋक्तन्त्र व्याकरण, अथर्व प्रातिशाख्य र शिक्षा ग्रन्थहरू) पढाइँदैन, अर्थात्, संस्कृतको शुद्ध, आदर्श र मानक उच्चारण नै सिकाइँदैन । यस मूर्खताको परिणाम के भएको छ भने, उपमहाद्वीपभरिका संस्कृतका तथाकथित पण्डितहरूले आफ्नो आफ्नै मातृभाषाका वर्णमाला प्रयोग गरेर त्यसैलाई संस्कृतको शुद्ध उच्चारण मान्नु पर्ने दुर्भाग्यको रूढि व्याप्त छ ।
असमियाँ पण्डितहरूले दिएको आसिक नलिनु भन्ने आहानै छ, किन भने असमियाँ पण्डितहरू पनि ‘शुद्ध संस्कृत’ आफ्नै मातृभाषाका वर्ण प्रयोग गरेर बोल्छन् । असमियाँ भाषामा संस्कृतको ‘चार’ को उच्चारण ‘सार’ हुन्छ, ‘सार’ को उच्चारण अघोष ‘हार’ हुन्छ, अनि ‘हार’ को घोष उच्चारण पनि हुन्छ । असमिया ऐतिहासिक वर्ण व्याकरणको यस विशेषताले गर्दा पुरोहितहरूले ‘शतायु भव’ (सय वर्ष बाँचेस्) भन्नु छ भने, ‘हतायु भव’ (ठहरै मरेस्) भन्दछन् । असमियाँकै जस्तो यो उपमहाद्वीपभरि संस्कृतको मनपरी उच्चारणलाई शुद्ध मानिई रहेको छ । उपमहाद्वीपका संस्कृत विश्व विद्यालयहरूले सामूहिक गोष्ठी गरेर संस्कृतको मानक उच्चारण ठेगान लगाउनु पर्ने छ र त्यही आदर्श उच्चारण उपमहाद्वीपभरिका विद्यालय, विश्व विद्यालय र गुरुकुलहरूमा कडाइसँग लागु गर्नु पर्छ ।
संस्कृतको मनपरी उच्चारणको ‘भाँडभैलो’ नेपालीका केही उदाहरणबाट प्रस्ट पार्न सकिन्छ ।
(१) ‘विश्व’ शब्दमा एउटै ‘व’ को दुई खाले उच्चारण (जस्तै, ‘बिस्व’) पाइन्छ । ‘सिद्धान्तकौमुदी’ को सुरु (संज्ञाप्रकरण) मै संस्कृतको कुन वर्णको कसरी उच्चारण गर्ने भन्ने सिकाइएको छ । यो उच्चारण धेरैजसो ‘पाणिनीय शिक्षा’ मा आधारित छ । संस्कृतको वकारको उच्चारणका लागि त्यहाँ ‘वकारस्य दन्तोष्ठ्यम्’ (अर्थात्, संस्कृतको ‘व’ को उच्चारण गर्दा तल्लो ओठ माथ्लो दाँतको नजिक पु‍र्‍याउनु पर्छ) लेखिएको छ । वैदिक गुरुकुलीय शिक्षाको एउटा मुख्य विधि के हो भने, विद्यार्थीले गुरुले सिकाएको जुनसुकै पाठ घोकेर कण्ठस्थ पार्नै पर्छ । त्यस अनुसार संस्कृतको जुनसुकै आदर्श विद्यार्थीलाई ‘वकारस्य दन्तोष्ठ्यम्’ कण्ठस्थ हुन्छ, तर संस्कृतको कुनै गुरुले पनि कुनै चेलाले पनि ‘विश्व’ शब्दमा एउटै वकारको दुई खाले उच्चारण भएको र त्यो उच्चारण पनि तल्लो ओठ माथ्लो दाँत नजिकै पु‍र्‍याएर होइन, (क) व्यञ्जनको दाहिने तिर भए (स्वाद, स्वस्ति, क्वचित्, व्याप्त) माथ्लो ओठसँग नछुवाएर, (ख) अन्यत्र भए (कवि, विद्या, भाव, भागवत) ओठै छुवाएर (स्पर्श) पो उच्चारण गरिँदै छ भन्ने कुरो मनन गरेकै देखिँदैन र रूढि चली रहेको छ ।
संस्कृत भाषामा निम्न लिखित शब्दका जोडामा वर्णहरूको फरक फरक उच्चारण गर्नु पर्छ भन्ने कुरो वैज्ञानिक ढङ्गले प्रातिशाख्य र शिक्षा ग्रन्थहरूमा सिकाइएको छ, तर उपमहाद्वीपभरि संस्कृत सिकाउँदा, पढ्दा र बोल्दा माल पाएर चाल नपाउने बेथिति कायमै छ :
(२) ‘कश’ (कोर्रा), ‘कष’ (कसी) र ‘कस’ (फक्रेको) ।
(३) सुर ‘देउता’, सूर ‘सूर्य’ ।
(४) बल् ‘पुग्नु’, वल् ‘सास फेर्नु’ ।
उपमहाद्वीपभरि संस्कृत भाषाको शैक्षिक परम्परामा संस्कृत भाषाको उच्चारणमा मनपरी चली रहेको छ भन्ने अरु उदाहरण यस्ता छन् :
(५) हिन्दी भाषीहरू ‘ङ’ को उच्चारण ‘गँ’ गर्छन् ।
(६) ‘ञ’ को उच्चारण नेपालमा ‘यँ’ गर्छन्, सिन्धीहरू मात्र तालव्य ‘ञ’ गर्छन् ।
(७) ‘च, छ, ज, झ’ उच्चारण उत्तर तिर (नेपालमै पनि) ‘य’ उच्चारण हुने ठाउँ (तालु) मा जिब्रो पु‍र्‍याएर होइन, माथिल्ला दाँतको नजिकै (दन्तमूल) छुवाएर गरिन्छ ।
(८) ‘ट, ठ, ड, ढ, ण’ को उच्चारण गर्दा ‘घोडा’ शब्दको ‘ड’ को उच्चारणमा जिब्राको टुप्पो पछिल्तिर फर्काएर (मूर्धन्य) उच्चारण गरे जस्तो नगरेर माथिल्लो दाँतको नजिकै (दन्तमूल) जिब्राको धार छुवाएर गरिन्छ ।
(९) ‘न’ को उच्चारण गर्दा जिब्राको टुप्पाले दँत नछोए पनि (दन्त्य) त्यसलाई ‘त, थ, द, ध’ जस्तो ‘दन्तस्थानी’ भन्ने चलन छ ।
(१०) ‘य’ को उच्चारण शब्दको सुरुमा मैथिल पण्डितहरूले ‘ज्य’ अथवा ‘ज’ भनेर पढाउँछन् ।
(११) ‘र’ को उच्चारण स्थान संस्कृतमा (‘घोडा’ को ‘ड’ जस्तै) मूर्धन्य हुनु पर्ने हो, तर ‘दाँत’ को नजिकै (दन्तमूलीय) छुवाएर गरिन्छ ।
(१२) दाँतै नछोई (दन्तमूलीय) उच्चारण गरे पनि ‘ल’ लाई ‘दन्त्य’ (दाँत छोएर उच्चारण हुने) ध्वनि भन्ने
चलन छ ।
(१३) बङ्गाल र उडिस्सामा तिनै किसिमका सकार (श, ष, स) लाई ‘तालव्य’ (‘य’ को उच्चारणमा झैँ तालु नजिकै जिब्राको बिच पु‍र्‍याएर) उच्चारण गरिन्छ भने, अन्यत्र चाहिँ नेपालीमा जस्तै माथ्लो दाँत पछाडि जिब्राको टुप्पाको माथ्ला पट्टि नजिक पु‍र्‍याएर (दन्तमूलीय) उच्चारण गरिन्छ ।
(१४) ‘क्ष’ को उच्चारण महाराष्ट्र, उडिस्सा, गुजरात र आन्ध्र प्रदेशमा स्वर पछाडि ‘क्स’ हुन्छ, तर नेपाल र उत्तर भारतमा ‘क्छ्य’ (जस्तै, कक्षा), ‘छ्य’ (क्षार), ‘छ’
(क्षेत्रीय) हुन्छ ।
(१५) ‘ज्ञ’ को उच्चारण महाराष्ट्र, गुजरात, उडिस्सा र आन्ध्र प्रदेशमा ‘न्य’ हुन्छ, तर नेपाल र उत्तर भारतमा ‘ग्यँ’ हुन्छ ।
(१६) इकार र उकारको ह्रस्व दीर्घ दक्षिण भारतमा ‘तमिल, तेलुगु, कन्नड र मलयालम’ भाषाका वक्ताले मात्र छुट्याउँछन्, नत्र नेपाल र उत्तर भारतमा कतै पनि संस्कृतको उच्चारण गर्दा स्वरको लम्बाइ छुट्टिने गरी ‘ढिलो’ (दीर्घ) र ‘छिटो’ उच्चारण गरिँदैन । यसको परिणाम के हुन्छ भने, संस्कृतमा इकार उकारको ह्रस्व दीर्घ उच्चारणको फरकले अर्थमै फरक पर्छ भन्ने हेक्का नराखेर नेपाल र उत्तर भारतमा ‘मैले सीतासित भात खाएँ’ (मया सीतया सह ओदनं खादितम्) भन्न खोज्दा ‘मैले चिनीसँग भात खाएँ’ (मया सितया सह ओदनं खादितम्) भनेर सिकाउने चलन छ ।
(१७) वेद पढ्दा पनि स्वरको उच्चारणमा ‘उदात्त, अनुदात्त, स्वरित’ कसरी पढ्ने भन्ने कुरामा उत्तर र दक्षिणका पण्डित एकनासको उच्चारण गर्दैनन् ।
(१८) ‘ऋ’ को उच्चारण महाराष्ट्र, उडिस्सा, गुजरात र आन्ध्र प्रदेशमा ‘रु’ (जस्तै ‘ऋतु’ लाई ‘रुतु’), उत्तर पश्चिम भारतमा ‘र’ (जस्तै, ‘रतु’) भने अन्यत्र ‘रि’ (जस्तै, ‘रितु’) हुन्छ ।
(१९) नेपाली वर्णमालाका किताबमा ‘लृ’ को पनि ह्रस्व दीर्घ छुट्ट्याइएको समेत पाइन्छ, तर संस्कृत भाषामा ‘लृ’ को दीर्घ नै हुँदैन (‘लृ’ वर्णस्य दीर्घो नास्ति) भनेर पाणिनिले (र शिक्षा ग्रन्थहरूले) नै लेखेका छन् । नेपाली भाषामा दीर्घ ‘ऋ’ भएको संस्कृत भाषाको एउटै शब्द पनि प्रयोग हुँदैन, तर हाम्रो सावाँ अक्षर चिनाउने परम्पराले कुनै पनि नेपाली कोशमै नभएको दीर्घ ‘ऋ’ पनि पढाई रहेकै छ । समस्त संस्कृत वाङ्मयमा ‘लृ’ को प्रयोग भएको एउटा मात्र शब्द ‘क्लृप्त’ (कल्पना गरिएको) छ भन्ने कुरो हिृवट्नी (१८८० इ, ‘संस्कृत ग्रामर’) ले उनको संस्कृत व्याकरणका किताबमा लेखेका छन् । त्यो ‘क्लृप्त’ शब्द पनि नेपाली कोशहरूमा पर्दैन । नेपाली कोश मात्र होइन, त्यो शब्द संस्कृतकै कोशमा पनि पाइनु पर्ने होइन । अर्को कुरो, संस्कृत वर्णमालामा ‘ऋ’ र ‘लृ’ लाई फरक फरक वर्ण मानिएको त पाइन्छ, तर वर्ण व्याकरणको सिद्धान्त अनुसार संस्कृत भाषामा ‘ऋ’ र ‘लृ’ लाई छुट्टै वर्ण प्रमाणित गर्न सकिँदैन । यसको कारण के हो भने, संस्कृत भाषामा ‘ऋ’ र ‘लृ’ को लघुतम युग्म नै बन्दैन, जस्तै,
अ. ‘कृप्’ धातुको अर्थ पनि ‘कल्पना गर्नु’ हो भने,
आ. ‘क्लृप्’ धातुको अर्थ पनि ‘कल्पना गर्नु’ नै हो ।
अर्थात्, संस्कृत भाषाका यी एक जोडी धातुमा उच्चारणको फरक हेर्दा यो जोडी ‘ऋ’ र ‘लृ’ छुट्याउने लघुतम युग्म नै हो कि जस्तो लाग्न सक्छ, तर उच्चारणमा फरक भए पनि यी दुइटै धातुको एउटै अर्थ (कल्पना गर्नु) भएकाले, अर्थात्, उच्चारणमा पनि अर्थमा पनि फरक नपरेकाले धातुको यस जोडीले संस्कृत भाषामा ‘ऋ’ र ‘लृ’ फरक फरक वर्ण सिद्ध गर्न सक्तैन, त्यसैले व्याकरणकार कात्यायनले ‘कृप्’ धातु भने पनि ‘क्लृप्’ धातु भने पनि अर्थमा फरक नपर्ने हुनाले संस्कृत भाषामा ‘लृ’ को कामै छैन भन्ने ठानेका छन् (चारुदेव शास्त्री, सं०, ‘व्याकरण महाभाष्य’)।
हाम्रो वर्णमालामा भएका ‘ऋ’ र ‘लृ’ संस्कृत भाषाका आक्षरिक व्यञ्जन (सिलेबिक कन्सोन्यान्ट) हुन् । अगाडि पछाडि कुनै स्वर नै नराखी संस्कृत भाषामा (ऋ) र ‘लृ’ वर्णको ऊच्चारण गर्न सकिन्थ्यो, जस्तै,
क. ऋतु (र्.तु), कृति (र्त्र्.ति), पितृ (पि.त्र्)
ख. क्लृप्त –क्ल्प्.त) ‘कल्पना गरिएको
वैदिक कालमा जुन वेला संस्कृत भाषा मातृभाषाका रूपमा बोलिन्थ्यो, त्यस वेला यी आक्षरिक व्यञ्जन ‘ऋ’ र ‘लृ’ को उच्चारण अगाडि पछाडि स्वर नराखी गर्न सकिन्थ्यो, तर जब मातृभाषाको रूपमा संस्कृत बोल्न सक्नेहरू सिद्धिए, अनि संस्कृतबाटै विकसित भएका अथवा बेग्लै मातृभाषा हुनेहरूले आफ्नो मातृभाषामा यस्ता आक्षरिक व्यञ्जन वर्ण नभएकाले संस्कृत भाषाका यी दुइटा आक्षरिक व्यञ्जनको उच्चारण ठिकसित गर्न सकेनन् । त्यसको परिणाम के भयो भने, भारतीय उपमहाद्वीपमा कतै पनि संस्कृतका यी दुइटा आक्षरिक व्यञ्जनको उच्चारण गर्न सक्ने पण्डितहरू नै छैनन् ।
यसै समस्याले गर्दा ‘लृ’ को उच्चारण सिकाउँदा गुरुहरूले नेपाली विद्यार्थीहरूलाई त्यहाँ हुँदै भएको ‘रि’ अक्षर जोडेर (ल्रि) उच्चारण गर्न सिकाउँछन् । नेपाली र भारतका कुनै पनि भाषामा प्रचलित संस्कृत शब्दमा दीर्घ ‘ऋृ’ भएको शब्दको प्रयोगै हुँदैन ।
यस विवरणबाट के बुझिन्छ भने, आफ्नो आफ्नै मातृभाषामा ‘शुद्ध’ संस्कृत पढ्ने भारतीय उपमहाद्वीपका पण्डितलाई एउटै वेद मन्त्र पढ्न दियो भने, अनेक थरी ‘शुद्ध’ उच्चारण गर्छन्, तर सबै पण्डितलाई ‘म चाहिँ वेद मन्त्रको शुद्ध उच्चारण गर्छु’ भन्ने भ्रम हुन्छ ।
चेलाले गुरुसँग एक चौथाइ ज्ञान मात्र सिक्ने हो, दोस्रो चौथाइ चेलाले गुरुको त्यो पाठलाई मनमनै खेलाएर आफ्नै प्रतिभाले थप्छ, तेस्रो चौथाइ चाहिँ साथीभाइसँग छलफल गरेर थप्छ भने, बाँकी चौथाइ चाहिँ व्यवहारमा परेर सिक्छ (‘आचार्यात् पादमादत्ते, पादं शिष्यः स्वमेधया । पादं सब्रहृमचारीभ्यः, पादं कालक्रमेण च’) भनेर वैदिक गुरुकुलीय शिक्षामा भनिएको छ, तर आज नेपालको शिक्षामा मनन, छलफल र व्यवहार पनि शून्य छ, पाठ घोक्ने कुरो त संस्कृतमा पनि गई सक्यो । गुरुकुलीय शिक्षा पद्धति गए पछि संस्कृत शिक्षामा पनि ‘विश्व’ शब्दमा संस्कृतको एउटै वर्णको उच्चारण पाणिनिले नै नसिकाएको भई रहेको न गुरुले मनन गरेछन्, न चेलाले मनन गरेछन्, न संस्कृतका विभागीय गोष्ठीमा, न व्याकरणको पाठ्यक्रम परिमार्जनमा, न उपमहाद्वीपभरिका अन्तरविश्वविद्यालयीय सम्मेलनमा यो समस्या मनन गरिएछ ।
आज भन्दा २ हजार वर्ष अगाडि नै पतञ्जलि (इपू १५०) ले आफ्नो ‘महाभाष्य’ को सुरुमै संस्कृत (विशेष गरी वेद) का विद्यार्थीहरू उच्चारणमा कमजोर हुन थालेको कुरो अघि सार्दै तिनीहरूको उच्चारण ठिक पार्न नै व्याकरण पढाउनु परेको हो भनेका छन् । यो कुरो उपमहाद्वीपका संस्कृत विश्व विद्यालयहरूले विवेक राखेर बुझ्न नसकेकाले कक्षामा प्रातिशाख्यबाट संस्कृतको मानक उच्चारण सिकाउन प्रातिशाख्यहरूको अभ्यास गराउँदैनन् । फलतः संस्कृतको मानक उच्चारणै सिक्न नपाई विद्यार्थीहरू स्नातक हुन बाध्य भएका छन् ।
संस्कृत शिक्षाको प्रभाव उपमहाद्वीपको सबै विद्यामा अनिवार्य रूपमा परेको छ । संस्कृतको शुद्ध उच्चारण सिक्न नपाएका ती ‘विद्वान्’ हरूको उत्पादनले नेपाली जस्ता आधुनिक भाषाको वैज्ञानिक शिक्षणमा बाधा पुर्‍याएको छ । छ ओटा वेदाङ्ग (शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष) मध्ये पहिलो नै ‘शिक्षा’ थियो । त्यस ‘शिक्षा’ को काम नै वेदको शुद्ध उच्चारण सिकाउनु मात्र थियो, तर आजको उपमहाद्वीपको संस्कृत शिक्षाले शिक्षाको त्यो पुरानो अर्थ चाहिँ पुरै बिर्सेको छ ।

(यस लेखमा प्रयुक्त हिज्जे र पदयोग–वियोग चलाइएको छैन ।)

कोसेली

रिप्ले खेल्न पाए हुन्थ्यो

खेल
- विनोद पाण्डे

सन् १९९९ को दक्षिण एसियाली खेलकुद । तत्कालीन समयको साफ गेम्स । नेपालले आयोजना र सफलताको हिसाबमा जितिसकेको थियो, फुटबलको फाइनल र समापनअघि । बाँकी थियो त केवल फुटबलको स्वर्ण पदक, जुन बृहत् खेलकुदमा निकै वजनदार हुन्छ । नेपाल फुटबल फाइनलमा बंगलादेशसँग १–० गोलले पराजित भयो । दशरथ रंगशालाका भरिभराउ दर्शक स्तब्ध भए । निर्दोष अनुहारका वसन्त गौचनले आफूलाई सम्हाल्न सकेनन् । फाइनलमा निकै प्रभावशाली प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा नआएपछि उनी रुन पुगे । २० वर्षअघिको साफ खेलकुदलाई सम्झँदा धेरैले त्यही क्षण सम्झन्छन् । त्यही क्षणबारे नेपाली फुटबल टोलीका मिडफिल्डर गौचनको सम्झना ः
आठौं साफ सम्झनेबित्तिकै मलाई दर्शक र फुटबल क्रेजको सम्झना आउँछ । बंगलादेशसँगको फाइनल खेल त कसरी भुल्न सकिएला र ! फाइनलमा हाम्रो आक्रमण पनि थियो । उनीहरूभन्दा हाम्रो टोली राम्रो थियो । घरेलु समर्थन भएकाले हामी आत्मविश्वासी पनि थियौं । क्रसिङदेखि आक्रमण सबै राम्रो भइरहेको थियो । पोस्टमा लक्षित आक्रमणहरू पनि भएका थिए । हरि (खड्का) र नरेश (दाइ) बाट प्रहारहरू पनि भएको थियो । त्योबाहेक अरू आक्रमण पनि भएको थियो । तर, हुनुपर्ने गोल पनि भएन ।
त्यहीमाथि दुर्भाग्य नै भन्नुपर्ला नराम्रो गोल पनि खाइयो । कर्नरबाट क्लियर हुन नसकेको गोल खाएपछि हामी अझ दबाबमा गयौं । हामीलाई दुई गोल फर्काउनुपर्छ भन्ने दबाब आइसकेको थियो । आक्रमण त थियो, जति रणनीतिक हिसाबमा जानुपर्ने थियो, त्यो थिएन भन्ने लाग्छ । सायद अलि बढी आक्रामक भयौं कि जस्तो लाग्यो । भारत सेमिफाइनलमा बंगलादेशसँग हारेपछि नै फुटबलको स्वर्ण पदक हाम्रोजस्तो भइसकेको धेरैले बुझेका थिए, स्वयं खेलाडीले पनि । आत्मविश्वास बढेको एकदम राम्रो हो । हामीलाई पनि जित्छौं नै भन्ने थियो । सोचेअनुसार, खेल पनि भइरहेको थियो । दर्शकको ठूलो साथ थियो । भारत बाहिर भएकोमा हामीलाई खासै नकारात्मक असर परेजस्तो लाग्दैन ।
इंग्लिस प्रशिक्षक स्टेफन कन्सटेनटाइनलाई म आफ्नो जीवनमा बिर्सन सक्दिनँ । रणनीतिक हिसाबमा उनले नेपाली फुटबलमा धेरै परिवर्तन ल्याइदिए । कसरी टिमका हिसाबमा खेल्ने, उहाँले नै सिकाउनुभयो हामीलाई । उहाँ अलि अनुशासन पनि खोज्नुहुन्थ्यो । आधुनिक फुटबल उहाँले नै ल्याउनुभएको हो— नेपाली टोलीमा । उहाँले फाइनल खेलमा लगाउनुभएको दौरा–सुरुवाल पनि एउटा आकर्षण रह्यो । फाइनलमा पुग्यो भने म नेपालको राष्ट्रिय पोसाक लगाएर प्रशिक्षण गर्छु भन्नुभएको थियो । फाइनल खेल्नुअघि उहाँ दौरा–सुरुवाल र भादगाउँले टोपी लगाएर होटलमा आउँदा हामी त अचम्मै परेका थियौं । विदेशी मान्छेलाई पहिलोपटक त्यस्तो देख्दा एकदमै नौलो लागेको थियो । उहाँलाई देखेर हामी हाँसेका पनि थियौं । उहाँको पोसाकले पनि मैदानको माहोल तातेको होजस्तो लाग्छ । एउटा विदेशीको हाम्रो देशप्रतिको माया थियो त्यो । दर्शकदीर्घामा पनि त्यसले निकै प्रभाव पारेजस्तो लाग्छ । हामी कमै लगाउँथ्यौं दौरा–सुरुआल । त्यो साफको बेलाचाहिँ लगाएका थियौं ।
अन्तिम १०–१५ मिनेटको खेल बाँकी रहँदा दबाब झन् बढेको थियो, हतासजस्तो पनि देखियौं होला । जसरी पनि बल अगाडि हान्नुपर्छ भन्ने मात्र भयो । त्यसले गर्दा मिस पास पनि भएको थियो । पासहरू भनेको ठाउँमा गएको थिएन । हामी अलिक स्पिडी भइरहेका थियौं । उनीहरूचाहिँ जसरी हुन्छ, बल क्लियरेन्स गर्ने र काउन्टर एट्याकमा खेलिरहेका थिए । हाम्रो रणनीति क्रसिङमा थियो, त्यो पनि राइट साइडबाट भएकाले मैले निरन्तर क्रस गरिरहेको थिएँ । ग्रान्ड क्रस पनि गरेको थिएँ । अभ्यासमा हामीले क्रसमा राम्रो गरेको थियौं । फाइनल अघि त्यो सबै सफल पनि भइरहेको थियो । हामीमा युवा जोस थियो । म विश्वस्त थिएँ एउटालाई काटेर लगेर क्रस गर्छु भन्नेमा । हुन पनि त्यही नै भइरहेको थियो । हाम्रो त्यो क्रस गर्ने योजना सफल पनि भएको हो र हामीले फाइनलमा त्यसैलाई जोड दिइरहेका थियौं ।
रेफ्रीले खेल सकिएको ह्विसल बजाएपछि मैले त केही पनि देखिनँ । पूरै अन्धकारमा छुजस्तो भएँ । स्तब्ध नै थिएँ । नसोचेको परिणाम भोग्नुपर्‍यो भन्ने लाग्यो । फाइनल जितिन्छ भन्नेमा विश्वस्त भएकाले होला हामीलाई त्यो नतिजा स्विकार्न गाह्रो भइरहेको थियो । मैदानभित्र व्यापक दर्शक थिए । देशभरिबाट हामीलाई ठूलो समर्थन थियो । देशमा भएको यत्रो ठूलो खेल र यत्रो माया पाएका बेला पनि हामीले दर्शकलाई खुसी दिन सकेनौंजस्तो लागिरह्यो । म पूरै भावुक भएँ । मेरो आँसु नरोकिनुको कारण त्यही होला । हामीले यति माया र समर्थन पाएका थियौं, त्यसलाई हामीले उपयोग गर्न सकेनौं । राष्ट्रले गरेको यत्रो मिहिनेतमा हामीले नतिजा दिन सकेनौं भन्ने लागिरह्यो । रंगशाला पूरै शून्य भएको थियो । त्यहीँबाट दर्शकले हामीलाई कति माया र समर्थन गर्नुभएको रहेछ, थाहा पायौं । दर्शकलाई खुसी पार्न सकिएन भन्नेचाहिँ मेरो मनमा रहिरह्यो । म भावविह्वल हुनुको कारण पनि त्यही थियो । ड्रेसिङ रुम फर्किंदा सबै कोही कता, कोही कता बसेर रोइरहेका थिए । एकान्तमा बसेर फ्रेस हुन खोजिरहेको थिएँ म । तर, प्रशिक्षक कन्सटेनटाइन आफैँ रोइरहेका थिए । त्यो रात सुत्नै सकिनँ । जुनैबेला त्यही खेल याद आउँथ्यो । फेरि त्यो खेल रिप्ले खेल्न पाएहुन्थ्योजस्तो लागिरहेको थियो । त्यो रात मात्रै होइन, मलाई धेरै रात सुत्न गाह्रो भयो । हामीले अझै मिहिनेत गर्नुपर्छ भन्ने त्यो खेलले सिकाएको थियो । त्यसपछि देशका लागि अझै केही गरौं भन्ने आयो ।
आठौं साफको त्यो फाइनल सम्झँदा मलाई अहिले पनि फेरि त्यही खेल खेलौंजस्तो लाग्छ । त्यसैले म अहिले पनि फुटबलमै छु, जहाँ बसे पनि । फाइनल हारे पनि रजत नै सही त्यसको महत्त्व मेरा लागि ठूलो छ । स्वर्ण जित्न नसके पनि मेरा लागि त्यो स्वर्ण समय थियो ।

Page 24
कोसेली

एउटा मूर्तिको आत्मसंस्मरण

कविता
- रमेश क्षितिज

कुनै सीमान्तकृत नागरिकजस्तो भएर
ढुङ्गा थिएँ – म ढुङ्गा
जीवनको किनारतिर कतै बगरमा पल्टिरहेको
घामको झरी सहिरहेको
बेलाबेलामा चल्ने असिनाको हुरी भोगिरहेको

स्थिर थिएँ/जड र अप्रगतिशील थिएँ
मौन थिएँ/लाटो र अवाक थिएँ
झरी पर्थ्यो–पीरो बनाएर जान्थ्यो नाक
हुरी चल्थ्यो–आँखामा खसाएर जान्थ्यो बालुवा
बाढी खस्थ्यो–तड्पाएर जान्थ्यो मेरो आत्मा

त्यो लोकगायक नदी हुन सकिनँ
जससँग थिए हृदय छुने गीतहरु
त्यो आदिकवि सूर्य पनि त हुन सकिनँ
जसले लेख्थ्यो घामका उज्याला पंक्तिहरु
त्यो कलाकार चरा हुन सकिनँ
जसले बनाउँथ्यो आफ्नै सीपले कलात्मक गुँड

टाढा हिँडेको माझीजस्तो बाटो
वा कोमल हृदयजस्तो पग्लिरहेको मेघ
त्यस्तो केही हुन सकिनँ,

बरू एक दिन ईश्वरको अवतार भएँ म, ईश्वर Û

जब लग्यो कुनै कलाकारले मलाई
हिर्कायो शरीरका एक–एक विन्दुमा
ताछ्यो पत्र–पत्र छाला र फुटायो पुराना अंगहरु

उता माल्सिरीको मीठो स्वरलहरी गुन्जिँदा
म चिच्याउँथेँ कर्कश आर्तनादले यहाँ,

बिहान हुन्थ्यो
र, पन्छीहरु उड्थे उन्मुक्त आकाशमा
साँझ हुन्थ्यो र
रातो–रातो खुल्दथ्यो सुदूर क्षितिज

म खस्दथेँ– क्षण प्रतिक्षण टुक्रिँदै आफैँबाट यहाँ,
म खप्दथें– छिनो र हथौडा र मार्तोल
म सहन्थें– प्रहार र चोट र दुःख

अनि एउटा शुभ बिहान पाएँ नवीन स्वरुप
र प्रतिष्ठापित भएँ म– अग्लो मन्दिरमा,

अचेल– बेलपत्र/अक्षता/सिन्दूर
अनि घाम/शीत छेक्ने छानो
बस्नलाई आसन र सुँघ्नलाई वासना र हेर्नलाई रङ
सुन्नलाई लयात्मक श्लोकहरु– के छैन मसँग ?

एउटा साधारण ढुंगाले ईश्वर बन्नु
किमार्थ एउटै थियो तर रहस्य–
कि मैले पीडाको लामो यात्रा हिँडेको थिएँ !

कोसेली

सिपाहीलाई छाउनी, जनतालाई तिंख्यः

टुँडिखेल
- कुलधर्मरत्न तुलाधर

आज ‘अकुपाई टुँडिखेल’ (तिंख्यः) ले अतिक्रमित भूमिमा सार्वजनिक पार्क निर्माणको मागलाई स्थापित गरेको छ । यही माग साढे ६ दशकअघि नेपालभाषाको लेखनमा उठेको थियो । कुलधर्मरत्न एमए कमर्स, बीएलले ‘थौंकन्हे’ पत्रिका (नेसं १०७१ बछला, वर्ष १, अंक १) मा प्रकाशित ॅसार्वजनिक केब व झीगु स्वास्थ्य’ लेखमा जनताको स्वास्थ्य र सार्वजनिक पार्कलाई एकीकृत मुद्दा बनाएका थिए ।
लेखकले ‘तिनिखेल’ (टुँडिखेल) लाई सार्वजनिक राष्ट्रिय पार्क बनाउनुपर्ने र त्यसबाट देशको शोभा बढाउने मात्रै होइन, देशवासीको फोक्सोलाई सफा गर्ने, आँखालाई उपचार गर्ने र मगजलाई शुद्ध गर्ने तर्क पेस गरेका थिए । उनले नागरिक र सरकारलाई सुझाएका थिए— सेनाका लागि छाउनी र जनताका लागि टुँडिखेल प्रयोग गर्न दिइयो भने देशकै मेरुदण्ड बलियो हुन्छ ।
७ दशकअघि नै तिब्बत, चीन, जापान, अमेरिका, बेलायत र स्विजरल्यान्ड आदि घुमेका र तिबेटन ट्रेड मिसनको दोभाषे भएर एसिया, युरोप र अमेरिका पुगेका कुलधर्मरत्न तुलाधर नेपाल सरकारको सचिवसम्म भएका थिए । ‘बुद्धिजम् एन्ड नेपाल’ का लेखक तुलाधर ९७ वर्ष बाँचेका थिए ।

 

अहिलेसम्म म जुन जुन देशमा यात्रा गरेको छु, ती सबै मुलुकमा सार्वजनिक उद्यान : पब्लिक पार्क नभएका कुनै ठाउँ नै छैनन् । भारतमा पनि प्रायःजसो सबै सहरमा जनताका पार्क छन् । कहीँ–कहीँ त एउटा सहरमै तीन–चारवटा पार्क पनि छन् । कालिङपोङजस्तो सानो सहरमा समेत जनताको पार्क छ ।
तिब्बतजस्तो चिसो सुक्खा देशमा पनि ठूलठूला उद्यान छन् । त्यहाँ जनताका लागि भन्दै सार्वजनिक पार्क बनाइएको छैन । तर, पनि त्यहाँ विशाल गुम्बा, दरबार वा सरकारका जग्गा–जमिनमा उद्यान बनाइएका छन् । यस्ता उद्यानलाई त्यहाँ ‘लिंका’ भनिन्छ । त्यस्ता लिंकामा आम मानिसहरू गएर जाफत वा पिकनिकसमेत आयोजना गर्नमा कुनै मनाही छैन । वर्षायाममा त नदी किनारमा बसेर नुहाउनु, नजिकका उद्यानमा आराम गर्नु र खानपिन गर्नु त तिब्बतीहरूको एउटा राष्ट्रिय मनोरञ्जन नै रहेछ ।
चीनमा पनि सांघाई, नानकिङ, हाङचाओ आदि सहरका ठाउँ–ठाउँमा दुई तीनवटा पार्क छन् । त्यति मात्रै होइन, ती पार्कका बीचमा पोखरी, डुंगा र बालबालिकाहरू खेल्ने साधन पनि छन् ।
अमेरिकाको न्युयोर्क सेन्ट्रल पार्क त सहरको बीचैमा रहेका सार्वजनिक पार्कमध्ये त संसारकै प्रथम दर्जाको हुनुपर्छ जस्तो लाग्छ । कारण— यो पार्क न्युयोर्क सहरको मध्यभागमै कोसौंकोस लामो हुने गरी बनाइएको छ । यस पार्कमा पोखरी र डुंगा त छन् नै, नानाथरीका जीवजन्तुसमेत राखिएका छन् । ती जीवजन्तुमध्ये तिब्बत र चीनजस्ता टाढा–टाढाका देशका चौँरी गाई (याक) र सेता भालुजस्ता देखिने हाब्रे (पान्डा), उत्तरी ध्रुवको हिउँमा बस्ने भालु (पोलार बियर), समुद्रमा बसेर माछा खाने सिलसमेत पालेर राखिएका छन् । र, पार्कमा घुमफिर गर्दागर्दै भोक–प्यास लागेमा खानपिनका लागि होटल आदिको व्यवस्था पनि गरिएको छ ।
बेलायतको राजधानी लन्डनको हाइड पार्क त प्रसिद्ध ठाउँ नै भयो । यस पार्कमा प्रत्येक आइतबारका दिन मानिसहरूले अरू सबैका सामु आ–आफ्ना राय भाषणका प्रस्तुत गर्ने वा नीति उभिएर सुनाउने अधिकार र चलन छ । क्यु गार्डेन नामक स्थान पनि थरी–थरीका फूल र रूखबिरुवाले भरिपूर्ण निकै विशाल पार्क हो ।
इटालीको राजधानी रोममा पनि ठाउँ–ठाउँमा जनताका लागि सार्वजनिक पार्क बनाइएका छन् । स्विजरल्यान्डलाई त पार्क नै पार्कको देश भने पनि हुन्छ । फ्रान्सको राजधानी पेरिसमा पनि पहिलेका बादशाहहरूका दरबार र उद्यान अचेल जनताका लागि सार्वजनिक पार्कमा फेरिएका छन् । अफसोसको कुरा के भने हाम्रो देश नेपाल प्राकृतिक सुन्दरतामा स्विजरल्यान्डभन्दा सुन्दर भए पनि यहाँ एउटा पनि सार्वजनिक पार्क छैन । यो हाम्रो राष्ट्रको ठूलो भूल मात्रै होइन, बेइज्जती र हानिकारक कुरा पनि हो ।
केवल देश र बाटोघाटोको शोभा बढाउन मात्रै सार्वजनिक पार्क जरुरी भएको होइन, देशमा बसोबास गर्ने मानिसहरूका फोक्सो सफा गर्न, आँखालाई सुन्दर दृश्यले उपचार गर्न र देशवासीलाई बोटबिरुवा, जडीबुटी र फलफूल इत्यादिको ज्ञान दिन पनि आवश्यक भएको हो । त्यसैले प्रत्येक आधुनिक देशमा सकेसम्म धेरै संख्यामा सार्वजनिक पार्क निर्माण गर्दै त्यहाँका देशवासीका लागि बिहान–बेलुका हिँडडुल गर्न र बिदाको दिन त आरामसमेत गर्न, अक्सर जाफत (पिकनिक) समेत गर्न सहज हुनेगरी व्यवस्थापन गरिएको छ । यसबाट मानिसहरूको श्वासप्रश्वासको समस्या समाधान हुँदै स्वास्थ्यमा सुधार ल्याउनमा धेरै मद्दत मिलेको छ ।
अमेरिकामा त हप्तामा पाँच दिन रगत–पसिना बगाएर मिहिनेत गरिसकेपछि दुई दिन बिदामा आराम गर्न अक्सर सार्वजनिक पार्कमै गएर दिन बिताउने चलन छ । यसको कारण हो— अमेरिकामा धेरैजसो अफिस र कारखानामा हप्तामा दुई दिन बिदा दिइन्छ । चीन, भारत, युरोपका विभिन्न देशमा पनि मौसमअनुसार हप्तामा कम्तीमा एक दिन त सार्वजनिक पार्कमा गएर दिन
बिताउने गरिन्छ ।
विडम्बना, धूलो उड्ने र फोहोरमैलाले भरिएको हाम्रोजस्तो सहरमा बसेर पनि सातामा एक दिन, त्यसमा पनि एक घण्टाका लागि पनि स्वच्छ हावामा सास फेर्ने सार्वजनिक पार्क छैन । यसले गर्दा हाम्रो स्वास्थ्य, हाम्रो शरीर अत्यन्त नराम्ररी बिग्रिन थालेकोमा हाम्रो होस नै पुगेको छैन । यस्तो परिस्थितिमा हाम्रो देशमा शरीर नै सुकेर जाने रोग ः ट्युबर क्लोसिस वृद्धि हुनुमा आश्चर्यचकित हुने ठाउँ नै छैन ।
‘अड्को–पड्को तेलको धूप’ भनेझैँ आम मानिसका लागि सास फेर्ने ठाउँ भने पनि घुम्ने पनि त्यही तिनिखेल (टुँडिखेल) एउटा हो । यहाँ अक्सर गरी वर्षायाममा मानिसहरूमा साँझ–साँझतिर घुमफिर गर्ने बानी भइसकेको छ । तर, बिहान र दिउँसो भने सिपाही दाजुभाइहरूको कवाज खेल्नुपर्ने भएकाले यो आम मानिसका लागि खुला छैन । यसले गर्दा बिहान–दिउँसो आम जनताका लागि नजिकै गएर हावा खाने ठाउँको अभाव छ ।
तिनिखेल बाटोहरूको पनि मुहान हो । यस्तो मुहानमा सिपाही दाजुभाइहरूको कवाज खेलिरहँदा सबै बाटा बन्द हुन्छन् । र, यस मुहानको बाटो भएर जाने सेक्रेटरियट (सिंहदरबारका मन्त्रालय) जाने कर्मचारीहरूका लागि मात्रै होइन, सबैजसो सर्वसाधारण मानिसका लागि पनि निकै असुविधा छ । त्यसैले सिपाही दाजुभाइहरूका लागि छाउनीमा पल्टन खेल्न जाने व्यवस्था भए बाटो पनि बन्द गर्नुपर्दैन, साथसाथै सिङ्गो तिनिखेललाई नै सेन्ट्रल पार्क वा सहरबीचको सार्वजनिक उद्यान बनाउन
पनि सकिन्छ ।
एक जमानादेखि तिनिखेलमा कवाज खेल्ने चलन चले पनि अब त प्रजातान्त्रिक जोस जागृत भएको बेला सबैलाई नागरिक हक प्राप्त भएको छ । यस्तो बेला पुरानै चालचलन चलाइराख्नु हामी सबै नागरिकको पनि ठूलो कमजोरी हो । अब हामीले तिनिखेललाई सिपाही दाजुभाइहरू खेल्ने ठाउँमा सीमित नगरी सम्पूर्ण नागरिक खेल्ने ठाउँ बनाउनुपर्छ र सास फेर्ने फोक्सोरूपी एक विशाल राष्ट्रिय पार्क बनाउने कोसिस गर्नुपर्छ ।
यसो गर्न सकेमा मात्रै यो ‘यो’ (काठमाडौं) का मात्रै होइनन्, ‘यल’ (ललितपुर) र ‘खोप’ (भक्तपुर) का नागरिकले पनि खासगरी बिदाको दिन दिनभरि, र अरू बेला पनि साँझ–बिहान पार्कको सफासुग्धर हावा र दृश्यमा रमाउँदै आफ्नो स्वास्थ्य सुधार गर्ने अवसर पाउँछन् । कारण यो तिनिखेल यी तीनवटै सहरको मुहान वा जंक्सन मात्रै होइन, यो त ‘भुइजःसि’ (बूढानीलकण्ठ), ‘खास्ती’ (बौद्ध) र पशुपति इत्यादि देवस्थल जाने बाटो पनि हो ।
खासगरी यो ठाउँमा राष्ट्रिय पार्क निर्माण गर्न सकियो भने राजधानीलाई नै शोभायमान बनाउन सकिन्छ । किनभने यही ठाउँको सेरोफेरोमा त्रिपुरेश्वर गेस्टहाउस (पाहाँ छेँ), टेलिफोन, घरेलु अड्डा, आकाशवाणी, जेल, परराष्ट्र अड्डा, सिंहदरबार, बिजुलीघर, न्यायालय, शिक्षा सदनजस्ता अड्डा छन् । ‘लुमरी’ (भद्रकाली) र ‘पालादेव’ (संकटा) र महाँकालजस्ता प्रसिद्ध देवस्थल पनि छन् । र, मिलिटरी अस्पतालसँगै आम जनताको अस्पताल, स्कुल–कलेज, घण्टाघर र ‘न्हू पुखू’ (रानी पोखरी) पनि यही तिनिखेलको चारैतिर अवस्थित छन् । यही तिनिखेलमा राम्रा–राम्रा फूल, फल र बोटबिरुवासँगै जडीबुटी आदि रोप्दै एउटा सार्वजनिक पार्कसँगै वनस्पति विद्या प्रसार गर्ने पब्लिक बोटानिकल पार्क बनाउन सकियो भने नेपालको राजधानीको शोभा मात्रै बढ्ने होइन । यति गर्न सकियो भने, माथि उल्लिखित ठाउँमा बस्ने र त्यहाँ आउने मानिसहरूको स्वास्थ्य पनि राम्रो हुने र मस्तिष्कलाई पनि शान्ति दिँदै उनीहरूका कामकारबाहीमा पनि दक्षता र कुशलता वृद्धि हुने तथा वनस्पति विद्या सिक्ने विद्यार्थीहरूलाई समेत मद्दत पुग्नेछ ।
वनस्पति विद्याको प्रचार वा ज्ञानमा राम्ररी वृद्धि हुँदै गयो भने हाम्रा पहाड–र वनमा भएका जडीबुटीको सदुपयोग हुने तथा कम खर्चमा रोग निवारण हुने मात्रै होइन, विदेशमा औषधि–उपचारका लागि जाँदा लाग्ने रकम पनि बच्छ । त्यसमा थप, हामीले राम्ररी काम गर्न सक्यौं भने जडीबुटीबाट औषधि नै बनाई विदेशमा निकासी गर्दै विदेशी मुद्रासमेत भित्र्याउन सक्छौं । अहिलेसम्म हाम्रा जडीबुटी अति नै सस्तोमा विदेशमा निर्यात भइरहेका छन् । हामीले जडीबुटी निकासी गर्नुको सट्टा त्यसबाट औषधि उत्पादन गर्न र औषधि नै निकासी गर्न सकेमा देशलाई धेरै फाइदा हुन्छ र देशमा व्याप्त बेकारी पनि कम हुन्छ । यसबाट अस्पतालमा रहेका रोगीहरूका लागि त अमृत समान काम हुनेछ । यही पार्कमा बालबालिकाका लागि खेल्ने ठाउँ पनि बनाउन सकिए नेपालका बच्चाहरूको स्वास्थ्यमा पनि काफी सुधार आउनेछ ।
यसका साथै ‘न्हू पुखू’ (रानीपोखरी) मा सफासुग्घर गर्दै त्यहाँ डुंगा चलाउने र पौडी खेल्न सिकाउने हो भने, सानो तिनिखेल(तिंख्यः)मा ‘कासा’ (खेल) खेल्ने र खेलाडीहरूलाई खेल खेल्ने मैदान बनाउने एवं खेलका दर्शकहरू बस्नका लागि ठाउँसमेत हुने गरी स्टेडियम बनाउन सकियो भने खेलाडी र दर्शक सबैका लागि शुद्ध हावापानीमा आराम गर्ने र मन बहलाउने साधनसमेत नजिकै उपलब्ध हुनेछ ।
त्यसैले सम्पूर्ण नागरिकले आफ्ना अधिकारप्रति सचेत भएर, ‘न्हू पुखू’ (रानीपोखरी) सफा गर्दै डुंगासमेत चलाउनुपर्ने, पौडी खेल्न सिकाउनुपर्ने, सिंगो तिनिखेलमा राष्ट्रिय पार्क बनाउनुपर्ने र सानो तिनिखेलमा स्टेडियम निर्माण गर्नुपर्ने माग माननीय स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन मन्त्रीसामु पेस गर्नु जरुरी भएको छ । ‘भोक लाग्यो भने बच्चा नरोएसम्म आमाले समेत दूध खुवाउँदिनन्’ भन्ने कुरा हामीलाई थाहा छँदै छ । त्यसैले हामीलाई आवश्यक पोखरी, पार्क र स्टेडियम नभई भएन भन्दै खासगरी माननीय मन्त्रीलाई, नेपाल सरकारलाई समेत सबै नागरिक एकजुट भएर जोडतोडका साथ आन्दोलन गर्न सकेनौँ भने यी अत्यावश्यक वस्तु आकाशबाट झर्नेवाला छैनन् ।
साथीहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, पुरुष र महिलावृन्द तथा ज्येष्ठ नागरिकहरू सबैलाई मेरो अनुरोध छ— आजभोलि स्थापित नागरिक हकमध्ये सबैभन्दा पहिलो हक नै स्वायत्त शासन (लोकल सेल्फ गभर्नान्स) भएकाले र यस लेखमा लेखेको विषय पनि यही विभागअन्तर्गत भएकाले अलिकति पनि समय नगुमाईकन माथि उल्लिखित तीनवटा वस्तुका लागि छिट्टै माग गरौं । पटक्कै ढिलाइ नगरौं । अब सवाल उठ्छ— सिपाही दाजुभाइहरूले पल्टन कहाँ खेल्ने त ? यस प्रश्नको उत्तर हो— उनीहरूका लागि छाउनी (क्यान्टोनमेन्ट) छँदै छ नि ? साँच्चै भन्दा, आजभोलिका तमाम मुलुकमा, कम्तीमा पनि मैले यात्रा गरेका देशमा मात्रै हेर्दा पनि सिपाही दाजुभाइहरूले कवाज खेल्ने चौर सहरभन्दा अलिक टाढा नै रहेको देखें, सहरभित्र वा सहरको नजिकै रहेको कम
मात्रै पाएँ ।
त्यसैले हामीले नारा लगाउनु छ, ‘सिपाहीहरूका लागि खेल्न छाउनी, जनताका लागि खेल्न तिनिखेल पार्क !’ कारण कुनै पनि राष्ट्रको मेरुदण्ड भनेको खालि वीर सिपाहीहरू मात्रै होइनन् । सायद, त्यसभन्दा बेसी मात्रामा त्यस देशका जनताको औसत स्वास्थ्य र स्वच्छ–शुद्ध मस्तिष्कमा त्यो मेरुदण्ड निर्भर छ ।
च्वखामुना’ (नेसं १०७६) बाट
अनुवाद : राजेन्द्र महर्जन

कोसेली

प्याजको सिरानी !

फोकस आउट
- बिजु महर्जन

प्याज काट्दा रून्थे मान्छे । अब प्याजलाई भान्सामा भित्र्याउँदा रूनुपर्ने दिन आयो । कारण
एकाएक आकासिएको प्याजको मूल्य । प्याज पनि अब मानिसका लागि अन्य विलासिताका सामानझैं बनेको छ । झन् त्यसैलाई ओछ्यान बनाएर निदाउँदा सपना राम्रै देखिँदो हो । तरकारीको भाउले आकाश छोएसँगै राजधानीवासी चिन्तित भइरहेका बेला एक कामदारचाहिँ कालीमाटीस्थित तरकारी बजारमा प्याजको बोरामाथि आनन्दले सुतिरहेका छन् ।