You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

गोकर्ण रिसोर्ट यतिलाई अर्को २५ वर्ष पनि

लिजको म्याद सकिनुभन्दा झन्डै ६ वर्षअगावै मन्त्रिपरिषद्को विवादास्पद निर्णय
२८ सय रोपनीको रिसोर्ट र गल्फ कोर्सबाट हालसम्म मासिक भाडा प्रतिरोपनी ५ सय ६४ मात्र
- कृष्ण आचार्य,कृष्ण ज्ञवाली

 (काठमाडौं) - सरकारले गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र निकै सस्तो दरमा थप २५ वर्षका लागि फेरि यति होल्डिङ्स प्रालिलाई नै दिएको छ । सरकारी स्वामित्वको उक्त सम्पत्ति प्रयोगबारे पुरानो सम्झौताको म्याद सकिनु ६ वर्ष बाँकी छँदै यतिलाई समय थपिएको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्ट सञ्चालक समितिको सिफारिसमा गत सोमबार मन्त्रिपरिषद् बैठकले समय थप्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले गरेका अन्य निर्णयहरू गत बिहीबार सार्वजनिक गरिए पनि यसबारे खुलाइएको छैन ।
गोकर्णेश्वर नगरपालिकामा पर्ने, झन्डै २८ सय रोपनीमा फैलिएको उक्त रिसोर्ट र गल्फ कोर्सका निम्ति यतिले प्रतिरोपनी ५ सय ६४ रुपैयाँ मात्र मासिक भाडा तिर्दै आएको छ । यति होल्डिङ्स गत वर्ष ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका व्यवसायी आङछिरिङ शेर्पाले अगाडि बढाएको कम्पनी हो । यतिलाई सत्तारूढ नेकपाका केही नेताले संरक्षण दिने एवं प्रवर्द्धन गर्ने गरेको आरोप लाग्दै आएको छ ।
उपप्रधान तथा रक्षमन्त्री पोखरेलले भाडा र समय थप गर्ने विषयमा बृहत् अध्ययन गरेर निर्णय गरिएको बताए । ‘नेपाल ट्रस्ट मातहतको सम्पत्ति अहिले जसले भाडामा पाएको छ, उसैलाई एकपटक समय थपिदिन पाइने व्यवस्था ऐनमा रहेछ,’ उनले भने । तत्कालीन राजपरिवारका जग्गा एवं सम्पति गणतन्त्र स्थापनापछि राष्ट्रियकरण गरी नेपाल ट्रस्टअन्तर्गत ल्याइएको थियो ।
रक्षामन्त्री पोखरेलले यति होल्डिङ्सबाट अब कति भाडा आउँछ भन्ने खुलाएनन् । ‘ठ्याक्कै कति भाडा आउँछ भन्न सकिँदैन तर अहिलेभन्दा पाँच/सात गुणा बढी भाडा आउँछ,’ उनले भने ।
गोकर्ण रिसोर्ट २७ सय ९३ रोपनी क्षेत्रफलमा फैलिएको छ । पुरानो सम्झौताअनुसार सरकारले ३० वर्षका लागि अधिकतम ५० लाख अमेरिकी डलर (हालको विनिमय दरअनुसार ५६ करोड ७५ लाख रुपैयाँ) मात्र भाडा पाउँछ । यसलाई वर्गीकरण गर्दा यतिले अहिले प्रतिरोपनी मासिक ५ सय ६४ रुपैयाँमै उक्त मूल्यवान सम्पत्ति प्रयोग गर्न पाइआएको देखिन्छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा निकै सस्तो भाडादरमा रिसोर्ट सञ्चालन गरिरहेको कम्पनीलाई अर्को २५ वर्षका निम्ति किन समय थप्ने भन्दै केही मन्त्रीले प्रश्न गरेका थिए ।
‘मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएपछि छ वर्ष समय बाँकी रहेकाले अहिल्यै किन म्याद थप गर्नुपर्‍यो भनेर केही मन्त्रीहरूले असहमति राखेका थिए,’ बैठकमा उपस्थित एक मन्त्रीले कान्तिपुरसित भने, ‘तर प्रधानमन्त्रीले मुस्कुराउँदै यसमा कुनै आर्थिक लेनदेन छैन भनेर जोडबल गरेपछि निर्णय भयो ।’
रक्षामन्त्री पोखरेलले भने ट्रस्ट सञ्चालक समितिले स्वतन्त्र अध्ययन टोली बनाई उसले सिफारिस गरेको आधारमा समय थप्ने निर्णय गरेको बताए । गोकर्ण रिसोर्ट सञ्चालनका लागि एलएम सुभिर ब्रदर्स नेपाल प्रालिले ०५२ सालमा अनुमति लिए पनि पछि विवादास्पद ढंगले त्यसको स्वामित्व यति होल्डिङ्समा सरेको थियो । पुरानो सम्झौताअनुसार सञ्चालन अवधि सकिन पाँच वर्ष ८ महिना बाँकी नै छ । ‘लिज अवधि सकिनु झन्डै छ वर्ष बाँकी छँदै फेरि गोकर्णको जंगल कौडीको भाउमा २५ वर्षका निम्ति उही कम्पनीलाई बुझाइँदै छ,’ उक्त मामिलाका जानकार एक उच्च अधिकारीले बताए ।

पर्याप्त समय बाँकी छँदै निर्णय गरिएको विषयमा रक्षामन्त्री पोखरेलले पूर्वाधार विस्तारका लागि प्रस्ताव पेस गरेको आधारमा निर्णय भएको बताए । ‘बैंकबाट ऋण लिने उल्लेख गर्दै पूर्वाधार विस्तार गर्नका लागि समय थप गरिदिए हुने भन्ने निवेदन आएको थियो,’ उनले भने, ‘नयाँ सम्झौता भएकै दिनबाट अर्को २५ वर्षका लागि उसले सञ्चालन गर्न पाउने हो ।’
सत्तारूढ दलनिकट मानिने शेर्पा परिवारको यति होल्डिङ्सलाई सरकारले विभिन्न व्यावसायिक लेनदेनमा संरक्षण प्रदान गर्दै आएको पाइएको छ । पूर्वराजपरिवारका नाममा रहेको धेरै ठाउँको जग्गा शेर्पा परिवारले भाडाका नाममा निकै सस्तोमा हात पारेको छ । गोकर्ण फरेस्ट रिसोर्ट पनि सरकारले निकै सस्तोमा विवादास्पद ढंगबाट सञ्चालन गर्न दिएको भन्दै आलोचना हुने गरेको छ ।
यतिको चलखेल
तत्कालीन राजदरबारसँगको सम्बन्धका आधारमा सिंगापुरको एलएम सुभिर ब्रदर्स ट्रेडिङ प्रालिले ०५२ साउन ३१ गते सरकारलाई भाडा तिरेर गोकर्णमा रिसोर्ट सञ्चालन गर्ने अनुमति पाएको थियो । तत्कालीन राजदरबारको राजकीय सम्पत्ति कोष विभाग र एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिबीच ३० वर्षसम्म रिसोर्ट भएको क्षेत्र प्रयोग गर्ने सम्झौता भएको थियो । सम्झौतामा कम्पनीले रानीकुञ्ज गोकर्णको क्षेत्रभित्र अठार होल गल्फ कोर्ससहितको रिसोर्ट निर्माण गर्ने र ३० वर्ष सञ्चालन गरेर सरकारलाई चालु अवस्थामा फिर्ता गर्नुपर्ने सर्त थिए ।
१५ वर्ष नपुग्दै यति होल्डिङ्स समूहले यो रिसोर्ट सञ्चालनका लागि लिने कसरत थालेको देखिन्छ । तर त्यसका निम्ति एलएम सुभिर र तत्कालीन सरकारले गरेको सम्झौताको बुँदा २३ अवरोधक बन्यो । उक्त बुँदामा रिसोर्ट सञ्चालन गर्ने अवधिभर सम्बन्धित कम्पनी (एलएम सुभिर) को सेयर ५१ प्रतिशतभन्दा बढी हुनुपर्ने प्रावधान थियो ।
०६२/६३ को जनआन्दोलनले राजतन्त्र हटाएपछि राजपरिवारका नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गरी नेपाल ट्रस्टअन्तर्गत ल्याइयो । ट्रस्टले एलएम सुभिरसँग ०६७ वैशाख ५ गते फेरि नयाँ सम्झौता गर्‍यो । सम्झौताका प्रावधान प्रायः पुरानै थिए । त्यसपछि पनि व्यवसायी आङछिरिङ शेर्पाको समूहले रिसोर्ट आफ्नो कब्जामा पार्ने प्रयास जारी राख्यो । उसले पहिलो पटक ०६८ असार २६ गते नेपाल ट्रस्टको सञ्चालक समितिको बैठकमा एलएम सुभिर ब्रदर्स (नेपाल) को सबै सेयर किन्ने प्रस्ताव पेस गर्‍यो । ‘सरकारको सम्पत्ति लिएर त्यसको मूल्य बढेका आधारमा ठेक्का पाउने कम्पनीको सेयर बेच्न पाइँदैन भनेर हामीले प्रस्ताव सोझै अस्वीकृति गरिदियौं,’ ट्रस्ट सञ्चालक समितिका तत्कालीन सदस्य तथा अर्थसचिव रामेश्वर खनालले भने, ‘उसले पहल भने जारी राखेको थियो ।’
त्यसपछिका धेरैवटा बैठकमा खनाल अनुपस्थित रहे । तत्कालीन राजनीतिक दबाबबारे जानकार खनाल पछिल्लो अवस्थाबारे बेखबर रहे । सञ्चालक समितिको अर्को बैठकमा फेरि त्यही प्रस्ताव पेस भएको कागजातले देखाउँछ । उक्त छलफलपछि १५ दिनभित्र सुझाव पेस गर्ने गरी एक अध्ययन समिति गठन भयो ।
ट्रस्टको चौधौं बैठकमा समितिको प्रतिवेदनमाथि छलफल मात्रै भयो । त्यसको दुई महिनापछि असोज २९ गतेको पन्ध्रौं बैठकले आफैं निर्णय गर्न नसक्ने र महान्यायाधिवक्ताको राय लिएर निष्कर्षमा पुग्ने निर्णय गर्‍यो । महान्यायाधिवक्ता कार्यालयले सम्झौताअनुसारका संरचनाबारे प्रश्न उठायो । प्रश्न उठाउनुको कारण थियो– राजदरबारसँगको सम्झौताअनुसारका संरचना निर्माण नै
गरिएको थिएन ।
०६८ पुस ९ गतेको बैठकमा फेरि सेयर बिक्रीबारे छलफल चल्यो तर निर्णय भएन । ०६९ असोज २ गतेको बैठकले सुभिर ब्रदर्सबाट गरिन बाँकी कामबारे प्रश्न उठायो । त्यति नै बेला राष्ट्रिय खेलकुद परिषद्ले पनि गोकर्ण क्षेत्रको केही जग्गा मागेको थियो । ट्रस्ट सञ्चालक समितिको बैठकले ‘हाललाई उपलब्ध गराउन नसकिने’ निर्णय गर्‍यो । मंसिर १८ गतेको २३ औं बैठकले अर्को समिति गठन गर्‍यो ।
‘पटक–पटकको प्रयासका बाबजुद ट्रस्टका केही कर्मचारीको अडानका कारण सेयर किन्ने यतिको प्रयास सफल हुन सकेको थिएन,’ त्यतिबेला अख्तियारमा काम गरेका एक सहसचिवले भने, ‘भर्खरै अख्तियारमा आएका लोकमानसिंह कार्कीलाई उनीहरूले प्रभावमा पारे र निर्देशन दिन लगाए ।’
यति होल्डिङ्सले सरोकार नै नभएको अख्तियारलाई आफ्नो चाहनाअनुसारको पत्रको बोधार्थ पठायो । ०७० माघ २३ गते अख्तियार प्रमुख कार्कीले ट्रस्टको सञ्चालक समितिका पदाधिकारीलाई आयोग कार्यकक्षमै बोलाई सेयर हस्तान्तरणको निवेदनमाथि निर्णय गर्न ठाडो निर्देशन दिए । भोलिपल्टै ‘अत्यन्त जरुरी/गोप्य’ छाप लगाई अख्तियारले नेपाल ट्रस्टको कार्यालयलाई पत्र लेखेर ‘नेपाल सरकारको अधिकतम हित हुने गरी एलएम सुभिर ब्रदर्स ट्रेडिङ प्रालिको सम्पूर्ण सेयर बिक्री गर्ने सम्बन्धमा यथाशीघ्र निर्णय गर्न’ निर्देशन दियो ।
निर्देशनको पर्सिपल्टै माघ २६ गते ट्रस्टको फेरि बैठक बस्यो । सम्झौताविपरीत भन्दै ट्रस्टका तत्कालीन सचिव श्रीधर गौतमले अख्तियारको निर्देशनअनुसार काम गरेनन् । ‘लोकमानसिंह कार्कीको चाहनाअनुसारको काम नभएपछि गौतमलाई अख्तियारले विभागीय कारबाहीका लागि निर्देशन दिने निर्णय गर्‍यो,’ अख्तियार स्रोतले भन्यो । गौतमलाई ट्रस्टको कार्यालयबाट हटाउन लगाइयो । कार्कीकै कार्यकालमा आफ्नो चाहनाअनुसार यति होल्डिङ्स पहिलेको कम्पनीको सबै सेयर खरिद गरेर गोकर्ण रिसोर्ट हात पार्न सफल भयो ।
‘राजतन्त्र र लोकमान शासनमा समेत निकै मिहिनेत गर्नुपरेको यति होल्डिङ्सलाई यसपटक समय थप्न धेरै परिश्रम नै गर्नु परेन,’ यो निर्णयप्रति असन्तुष्टि जनाउँदै एक उच्च सरकारी अधिकारीले भने, ‘मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएकै दिन निर्णय भयो ।’

मुख्य पृष्ठ

विदेश उडानमा शतक

- बिनु सुवेदी

(काठमाडौं) - जहाज जसै फिलिपिन्सको राजधानी मनिलाको आकाशमा पुग्यो, ढलमल–ढलमल गर्न थाल्यो । जहाजको झ्यालबाट कालो बादलबाहेक अर्को दृश्य देखिएन, जहाज बादलभित्रै हरायो । मृत्युलाई सामुन्ने देख्दा के गर्छ मान्छे ? उनले त्यतिखेर गरेको अनुभूति त्यही नै हो । ‘यात्रु सबै रुन थाले, एयर होस्टेस पनि रोए । अब त जिन्दगी यत्ति नै हो भन्ने लागेको थियो,’ पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पहिलो विदेश यात्रा स्मरण गरे, ‘मलाई बाँचेर फर्कुंला भन्ने आस पनि थिएन ।’
नेपालका अनुसार उनले जिन्दगी माया मारेको त्यो दोस्रो पटक थियो । पहिलो पटक ०२९ सालमा सास फुलेर सिन्धुपाल्चोकको उकालो चढ्न नसक्दा उनलाई अब बाँचिँदैन होला भन्ने लागेको थियो । तराईको मान्छे अचानक पहाड छिचोल्नुपर्दा जति अत्तालिएका थिए, त्योभन्दा धेरै जहाजले बादल छिचोल्न नसक्दा आत्तिए उनी ।
करिब आधा घण्टापछि बादल
फाट्यो, उनी चढेको जहाजले बाटो पायो, अचानकै जिन्दगी नसकिएकामा अरू यात्रुजस्तै नेपालको अनुहारमा पनि घाम झुल्कियो । बाल–बाल बाँचेका ३९ वर्षीय नेपाल युवाको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा सहभागी भएर फर्किए । यो ०४८ कात्तिकको कुरा हो र वैदेशिक यात्रामा नेता नेपालको ‘डेब्यु’ । त्यसपछिको कुनै एउटा त्यस्तो वर्ष छैन, जुन नेता नेपालले विदेशी भूमिमा नटेकेका होउन् । सम्भवतः त्यसैकारण उनी विदेश यात्रा गर्ने नेपाली नेताहरूको सूचीमा अग्रपंक्तिमा छन् । यो तथ्यमा उनको जवाफ छ, ‘म विदेश मात्रै होइन, देशमा पनि धेरै घुम्ने नेतामा पर्छु । म देशी/विदेशी साथीहरूसँग राम्रो हिमचिम राख्छु ।’ उनी ०५४ सालअघि नै नेपालका सबै जिल्लामा पुगिसकेका थिए ।
मंसिरको पहिलो साता टर्की र मेसेडोनियाको यात्रा गरेर आएपछि उनको वैदेशिक उडानको संख्या सयबाट उकालो चढेको छ ।

यो हिसाबकिताबमा भारत भ्रमण जोडिएको छैन । नेपाल आफैंले पनि भनेका छन्, ‘भारत त कति गइयो गइयो, त्यसको कुनै हिसाब छैन ।’
नेपाल कहिलेकाहीं महिनाको तीन पटकसम्म विदेश गएका छन् । यसरी विदेश गइरहन केले प्रेरित गर्छ उनलाई ? ‘म अन्तर्राष्ट्रिय राजनीति र सम्बन्धमा पहिलेदेखि नै रुचि राख्थें, त्यही रुचिले मलाई अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न प्रेरित गर्‍यो,’ नेता नेपालले भने, ‘त्यसैले वैदेशिक सेमिनारका लागि धेरै निम्तो आउँछन् ।’ उनले अहिले नै पनि आफूलाई विदेशी संघसंस्थाबाट २० भन्दा धेरै निम्तो आएको बताए । उनी पार्टी विदेश विभागको नेतृत्वमा सुरुवातदेखि नै रहे । अहिले पनि नेकपा विदेश विभागको प्रमुख रहेका नेपाल आफूलाई विदेश जाने कुरा त्यति ठूलो नलाग्ने प्रतिक्रिया दिन्छन् । पहिले उनी सम्मेलनहरूमा सहभागीका रूपमा जान्थे, आजकल वक्ताका रूपमा निम्त्याइन्छन् । त्यस्ता फोरममा आफूले नेपालको कम्युनिस्ट आन्दोलनको विगत र वर्तमानबारे धारणा राख्ने गरेको उनको भनाइ छ । ‘विदेश भ्रमणमा मैले नेपालको राजनीतिक उतारचढाव, अरू देशसँग नेपालको सम्बन्ध, नेपाली कम्युनिस्ट पार्टीहरूको विशेषताबारे नै कुरा गर्ने हो,’ उनले भने ।
०५० जेठ ३ मा तत्कालीन एमाले महासचिव मदन भण्डारीको निधन भएपछि उनी जेठ ९ गते पार्टीको महासचिव भए । त्यसपछिको लगातार १५ वर्षसम्म उनले एमाले नेतृत्वको सिँढीबाट ओर्लिनुपरेन । देशको प्रधानमन्त्री पनि भए । विदेश यात्रामा तत्कालीन एमालेको सिद्धान्त, दर्शन र नीतिबारे पनि जानकारी दिएको नेपाल बताउँछन् । भण्डारीले ल्याएको जनताको बहुदलीय जनवादको अवधारणालाई आफू महासचिव भएपछि चीन र भारतका कम्युनिस्ट पार्टीहरूका बीचमा पनि बहस गराएको उनको भनाइ छ । ‘जबजबारे चिनियाँ कम्युनिस्ट पार्टी र भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका बीचमा पनि बहस गर्‍यौं,’ नेता नेपालले भने, ‘त्यसले पनि विदेशी राजनीतिक दलहरूसँगको सम्बन्ध बनाउन र विदेश आउजाउ गर्न मलाई थप सजिलो भयो ।’ त्यही आउजाउले नै होला धेरै चिनियाँहरू उनका ‘प्रिय’ साथी बनेका छन् । अन्ततिरका नेता र संघसंस्थासँगको सम्बन्ध पनि राम्रो छ ।
०५१ को मध्यावधि चुनावमा तत्कालीन एमाले पहिलो पार्टी भयो । पार्टी अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बने । नेपाल उपप्रधान एवं परराष्ट्र र रक्षामन्त्री भएर पहिलो पटक सरकारमा गए । ‘त्यतिखेर मैले सबैभन्दा धेरै विदेश भ्रमण गरेँ तर रक्षामन्त्री पनि भएको हिसाबले कतिपय देशमा भने गइनँ,’ उनले त्यो कालखण्डको संवेदनशीलतालाई खोतले । अहिलेसम्म ६८ वटा देशमा पुग्नका लागि सयभन्दा धेरैपटक उडान भरेका नेपाल सबैभन्दा धेरै चोटि त चीन नै पुगेका छन् । उनी चीन मात्रै १० भन्दा बढी पटक पुगेका छन् । यति धेरै विदेश भ्रमण गर्ने नेपालले पासपोर्टचाहिँ कतिवटा फेरे होलान् ? नेपालका अनुसार ०७५ साउन २१ गते अद्यावधिक गरिएको उनको छैटौं पासपोर्ट हो । ‘जति धेरै हिँड्यो पासपोर्टमा उति नै छाप लाग्छ, सकिएपछि नयाँ बनाउन परिहाल्यो,’ नेपाल मुस्काउँछन् ।
नेता नेपालको विदेश भ्रमण आलोचनामुक्त भने छैन । पार्टीभित्रैका आलोचकहरू भने उनलाई ‘जहाजको सिट खाली देख्नेबित्तिकै उड्न हतारिने नेता’ भन्ने गर्छन् । नेकपा सचिवालय सदस्यहरूले नै नेपाललाई सानोतिनो कार्यक्रमका लागि विदेशतिर गइरहने बानी त्याग्न सुझाव दिएका छन् । ‘पार्टीका महत्त्वपूर्ण बैठकहरूमा नबस्ने विदेश मात्रै जाने अनि फर्किएर निर्णयहरूप्रति फरक मत राख्ने प्रवृत्ति देखिएपछि हामीले माधवजीलाई अब यसरी विदेश गइरहने काम छाडिदिनुस् भनेर सल्लाह पनि दियौं,’ एक सचिवालय सदस्यले भने, ‘तर उहाँ फुत्तफुत्त गइरहनुहुन्छ ।’ नेपाल भने आफूले देशलाई नै प्राथमिकतामा राखेको बताउँछन् । ‘म पार्टीको आन्तरिक काम छाडेर बाहिर जाने गरेको छैन, आएजति सबै निम्तोमा जान भ्याइँदैन पनि, विदेश भ्रमणको मामिलामा म सेलेक्टिभ छु,’ नेपालले दाबी गरे ।
कुनै समय थियो तत्कालीन एमालेले पार्टीमा जानकारी नदिई विदेश जाने सांसदलाई समेत छाड्दैनथ्यो । ०४८ देखि ०५१ सालसम्म आइपुग्दा पार्टीलाई नसोधी विदेश गएको भनेर एमालेले केही सांसदलाई कारबाही गरेको थियो । पछिसम्म पनि एमालेका नेता–कार्यकर्ता पार्टीलाई जानकारी नदिई कहीँकतै जाँदैनथे । तर अहिले नेपाललगायत नेकपाका नेताहरूको विदेश भ्रमण उनीहरू पुगिसकेपछि या फर्किएपछि मात्रै थाहा हुन्छ । कति त आए/गएको पनि पत्तो हुँदैन । ‘म मात्रै विदेश आउँदाजाँदा धेरै हल्ला हुन्छ, सुटुक्कै विदेश जाने अरू साथीहरू कति छन् कति,’ नेता नेपालले भने ।
नेता नेपालको अत्यधिक विदेश भ्रमणलाई इंगित गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले गत वैशाखमा दोलखाको एक कार्यक्रममा भनेका थिए, ‘पार्टीको एकता प्रक्रिया ढिलो हुनुमा नेताहरूको विदेशमोह पनि कारक हो ।’ त्यतिखेर नेकपाभित्र एकताबारे लम्बेतान छलफलहरू भइरहन्थे, नेताहरू आ–आफ्ना गुटमा बाँडिएका थिए ।
यसरी पार्टीका नेता–कार्यकर्ताहरूले नै आलोचना गर्दा आफूले गरिरहेको काम ठीक छ कि छैन भनेर समीक्षा गर्नुपर्ने नेकपा स्थायी समिति सदस्य युवराज ज्ञवालीको भनाइ छ । ‘कतिपय कमजोरी नियत नहुँदा नहुँदै पनि हुन्छ, त्यसलाई आफैंले समीक्षा गर्नुपर्छ,’ ज्ञवालीले भने, ‘नगई नहुने ठाउँमा त जानै पनि पर्‍यो तर जस्तो पनि कार्यक्रममा जाँदा कार्यकर्ताले राम्रो मान्दैनन् ।’ कार्यकर्ताले मात्रै होइन, नेकपाका शीर्ष नेताहरूले पनि नेपालको विदेश ‘सयर’ लाई उति राम्रो मानेका छैनन् ।
हालैको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले एउटा किस्सा सुनाए, ‘माधवजी संसद् बैठकका लागि जानुभयो, सिटमा बस्नुभयो र यताउता हेरेर सिटबेल्ट खोज्नुभयो,’ ओलीले थपे, ‘छेउका सांसदले यो संसद्को बैठक कक्ष हो, जहाज
होइन भनेर सम्झाएपछि नेपालजी
झसंग हुनुभयो ।’
नेपालको विदेश भ्रमणलाई लिएर ओलीले अर्को पनि कटाक्ष गरेका छन्, ‘माधवजीले नेपाललाई ट्रान्जिट पोइन्ट मात्रै बनाउने हुनुभयो ।’ कहिलेकाहीं नेपालको विदेश दौडले त्यस्तै छनक दिन्छ पनि ।
उनी भने धेरै विदेश गयो भनेर आलोचना गर्नुको कुनै अर्थ नहुने टिप्पणी गर्छन् । ‘ती बिचराहरू जसलाई बिहेको निम्तो पनि आउँदैन, मर्दा मलामी जानुपर्छ भन्ने पनि थाहा छैन, उनीहरूलाई विदेश भ्रमणको पनि निम्तो नआउँदो रहेछ र मेरो आलोचना गर्छन्,’ उनले भने ।
दक्षिण कोरियाको विवादित संस्था ‘युनिभर्सल पिस फेडेरेसन’ले पोहोर मंसिरमा नेपालमा गरेको ‘एसिया प्यासिफिक सम्मेलन’मा सरकारको सहभागितालाई लिएर चर्को आलोचना भयो । उनले सो सम्मेलन र त्यसमा ‘होलीवाइन’ खुवाइएको विषयमा स्थायी कमिटी बैठकमै स्पष्टीकरण दिनुपर्‍यो ।
विदेश यात्रामा ‘शतक’ पार गरेकामा नेपालको संस्मरणबाट नहराएको भ्रमण भनेको उत्तर कोरियाको नै हो । पार्टी महासचिव भएपछि ०५० को असोजमा उनी उत्तर कोरिया भ्रमणमा गए । साथमा वामदेव गौतम र मोदनाथ प्रश्रित पनि थिए । त्यो बेला उत्तर कोरियाका नेता किम इल सुङसँग नेता नेपालको समूहको तीन घण्टासम्म छलफल भयो । त्यो भेटमा सुङले ‘हामी पनि चीनजस्तै खुला बाटोमा जान्छौं र त्यसको पहल गरिरहेका छौं’ भनेको कुरा नेता नेपालले बिर्संदैनन् । ‘उहाँले नेपालमा छिट्टै कम्युनिस्ट पार्टीको सरकार बन्छ र त्यो दिन मेरा लागि सबैभन्दा ठूलो खुसीको क्षण हुनेछ भन्नुभएको थियो तर हाम्रो देशमा कम्युनिस्ट सरकार बनेको सुङले देख्न पाउनुभएन,’ नेपालको अभिव्यक्तिमा थकथकी झल्किन्छ । सुङको ०५१ सालमा निधन भएको हो । उत्तर कोरियाको ढोका भने अझै बन्द छ ।
नेपालकै अनुसार भेनेजुयलाका नेताहरूसँग पनि उनको राम्रो सम्बन्ध छ । भेनेजुयलाका नेताहरूले केही महिनाअघि नेपाल आउँदा यही सम्बन्धको आधारमा नेता नेपालसँग पनि भेटेका थिए । युरोपियन मुलुकका धेरै कम्युनिस्ट नेता त उनका मिल्ने साथीहरू छन् ।
नेता नेपाल अहिले पनि आफ्नो सम्भावित विदेश भ्रमणकै तयारीमा छन् । उनको निवास पुग्दा मंगलबार उनी ‘नेपाल्स, नेसनल इन्ट्रेस्ट’ नामक किताब पल्टाइरहेका थिए । नेपालको राष्ट्रियता र भौगोलिक सीमाबारेका सन्दर्भ सामग्री खोज्ने क्रममा नेपालको हातमा यो किताब पुगेको हो । भारतीय पक्षबाट अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भूमिबारे भारतीय पक्षसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेपछि नेपालले त्यसको तयारी थालेका हुन् । त्यो प्रस्ताव मात्रै थियो, कुनै तयारी थिएन, कुराकानी कहींकतै भएको पनि थिएन । तर प्रस्तावले मूर्त रूप लिन नपाउँदै नेपालले सचिवालयमा त्यसबारे जानकारी गराएपछि उक्त गोप्य कुरा छरपस्ट भयो । कूटनीतिक अपरिपक्वता देखाएको भनेर नेता नेपाललाई केही विज्ञले गाली पनि गरे । त्यतिखेरै उनलाई एक जना पूर्वपरराष्ट्रमन्त्रीको सल्लाह थियो, ‘विदेश भन्नेबित्तिकै राम्रोसँग कुरा नबुझी दौडिहाल्ने बानी छाड्नुस् ।’
नेपालले भ्रमण गरेका मुलुक
भारत, चीन, हङकङ, रुस, फिलिपिन्स, अमेरिका, बंगलादेश, उत्तर कोरिया, जर्मनी, स्विट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, नेदरल्यान्ड्स, लक्जम्बर्ग, जापान, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया, रसिया, बेलारुस, भियतनाम, लाओस, यमन, मेक्सिको, क्युबा, मलेसिया, कतार, भुटान, श्रीलंका, माल्दिभ्स, स्विडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, काजकिस्तान, ब्राजिल, पराग्वे, हंगेरी, अस्ट्रिया, नाइजेरिया, इथियोपिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, स्पेन, कम्बोडिया, क्यानडा, कुवेत, साउदी अरेबिया, टर्की, अजरबैजान, लेबनान, पोर्चुगल, इटाली, ग्रीस, पाकिस्तान, बहमास, पूर्वी टिमोर, न्युजिल्यान्ड, म्यानमार, सेनेगल, युगान्डा, घाना, मेसेडोनिया, अल्बानिया ।

Page 2
समाचार

'नक्सा सार्वजनिक गर्न कसले छेक्यो ?'

राष्ट्रियताजस्तो संवेदनशील विषयमा सरकार संवेदनशील भएन ः सांसद
- ऋषिराम पौड्याल
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठक । तस्बिर ः संजोग मानन्धर/कान्तिपुर

(काठमाडौं) - सांसदहरूले सीमासम्बन्धी समस्या समाधानमा सरकारको राजनीतिक र कूटनीतिक अग्रसरता कमजोर भएको टिप्पणी गरेका छन् । सीमा अतिक्रमणका सम्बन्धमा मन्त्री र नेतापिच्छे फरक–फरक विचार आएको उनीहरूले बताए ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा नेकपाका नेता भीम रावलले शुक्रबार प्रश्न गरे, ‘आफ्नो भूभाग कहाँसम्म हो भनेर नक्सा जारी गर्न सरकारलाई कसले छेक्यो ? त्यसका लागि साइत हेर्नुपर्ने हो कि ?’ उनले भारतसँगको सीमा विवाद सुल्झाउन सरकारले गरेका कामको जानकारी नगराएकाले प्रश्नहरू उठेको बताए । उनले भने, ‘कहिले भारतमा उच्च विशेष दूत पठाउने कुरा सुनिन्छ, फेरि होइन पनि भनिन्छ, यस्ता कुराले वार्ता प्रक्रियामा प्रतिकूल प्रभाव पार्छ कि पार्दैन ?’
नेकपाकै अग्निप्रसाद सापकोटाले सीमा विवादलाई सामान्य रूपमा लिएर समस्या समाधान नहुने बताए । सरकारकै प्रवक्ताले ९९ प्रतिशत सीमा विवाद टुंगिएको भन्नु गलत रहेको उनको तर्क थियो । कांग्रेसका प्रकाशमान सिंहले ‘राष्ट्रियताजस्तो संवेदनशील विषयमा सरकार के गरेर बसेको छ भन्ने जिज्ञासा राखे । ‘राजनीतिक वा कूटनीतिक प्रयास के भएको छ, जानकारी चाहियो,’ उनले भने ।
सापकोटाले भारतले जानीबुझी र विचार गरेरै नेपाललाई कस्दै ल्याएको बताए । भारतले कालापानीमा रणनीतिक हिसाबले अत्याधुनिक संरचना निर्माण गरेकाले उक्त भूभाग उसले त्यसै नछाड्ने बताए । संविधान संशोधन गरेर भए पनि नेपालले नयाँ नक्सा जारी गर्नुपर्ने उनको माग छ । ‘कूटनीतिक रूपले मात्रै यो समस्या कुनै हालतमा समाधान हुँदैन । सरकारका मान्छे र नेताहरूले तत्कालै समस्या समाधान गर्नुपर्छ भन्ने भाषण गरेको सुन्दा आफूलाई अचम्म लागेको छ । यो समस्या त्यति सजिलै समाधान हुँदैन,’ उनले भने ।
कांग्रेस सांसद सिंहले सीमा विवाद समाधान गर्न सरकारले गरेको पहलको आधिकारिक जानकारी मागे । राष्ट्रियतासँग जोडिएको सीमा मुद्दालाई सबै मिलेर समाधान गर्नुपर्ने उनको धारणा थियो । ‘विषय उठिहाल्यो, यस्तै हो भन्ने मान्यता सरकारले राखेको देखिन्छ,’ उनले भने । सुगौली सन्धिले महाकालीपूर्वको भूभाग नेपालको हो भन्ने व्याख्या गरेको उनले बताए । ‘सन् १८१६ पछि ब्रिटिस–भारतले १८२७, १८३५ र १८५० मा प्रकाशन गरेको नक्सामा पनि महाकाली नदीको पूर्वी भूभाग नेपालको भएको उल्लेख छ’, उनले भने । १९६२ को भारत–नेपाल युद्धका बेला भारतले कालापानीमा सेना राखेको प्रसंग
जोड्दै उनले त्यतिबेलैदेखि अतिक्रमण
बढेको बताए ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगतमा नेपाल–भारतबीच भएका सबै सन्धि–सम्झौताका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भन्ने यथेष्ट प्रमाण सुरक्षित रहेको बताए । उनले यही प्रमाणको आधारमा भारतसँग वार्ता गर्नुपर्ने बताए । सीमा विवाद उठेको लामो समय हुँदा पनि सरकारले आफ्नो नक्सासमेत सार्वजनिक गर्न नसकेको भन्दै सांसदहरूले गृहमन्त्री रामबहादुर थापा तथा भूमिव्यवस्था, गरिबी निवारण र सहकारीमन्त्री पद्माकुमारी अर्यालको आलोचना गरे ।
कालापानीलाई रणनीतिक भूमि
बनाइयो ः थापा
गृहमन्त्री रामबहादुर थापाले भारतले करिब ४ सय किमि नेपालको भूभाग अतिक्रमण गरेको तथ्यांक पेस गर्दै सीमा क्षेत्रको सुरक्षाका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । सशस्त्र प्रहरी बलको संख्या अपुग भएकाले सीमा क्षेत्रका सुरक्षा पोस्टहरू स्थापनामा समस्या भएको उनले बताए । यसका लागि सुरक्षाकर्मी भर्ना गर्ने प्रक्रिया थालेको उनले जानकारी दिए ।
सन् १९६२ मा चीनसँगको युद्धपछि भारतले सीमामा राखेको १८ वटा पोस्टमा तैनाथ सैनिक हटाए पनि कालापानीमा नहटाएको उनले बताए । ‘कालापानी रणनीतिक स्थान भएकाले त्यहाँबाट सेना नहटाएको हुन सक्छ,’ उनले भने । राजा महेन्द्र वा त्यसपछिका कुनै पनि सरकारले कालापानी, लिपुलेक वा लिम्पियाधुरा छाड्ने सहमति नगरेको भन्दै उनले विगतमा पनि समस्या समाधानका प्रयासहरू भएको जानकारी दिए । राजाले पञ्चायत टिकाउन भारतसँग कुनै सम्झौता गरेका थिए कि भन्ने सांसदको प्रश्नमा थापाले यस्तो जवाफ दिएका हुन् । ‘राजा र कुनै पनि सरकारले त्यस्तो सम्झौता गरेका छैनन्, यो गलत कुरा हो,’ उनले भने ।
अहिले १ सय २ सीमा पोस्टहरूमा सशस्त्र प्रहरी तैनाथ गरेको जानकारी दिँदै थापाले यसको बिस्तार गरिने जानकारी दिए । सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले सीमामा ६० देखि ७० सुरक्षा पोस्ट थप्ने तयारी गरेको बताए । उनले वर्षौंदेखिको समस्या तत्कालै समाधान नहुने स्पष्ट पारे ।
नक्सा जारी गर्ने तयारीमा छौं ः अर्याल
भूमि व्यवस्था, गरिबी निबारण तथा सहकारीमन्त्री अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमणमा परेको नक्सा सार्वजनिक भएपछि सरकारले भारतलाई पत्र लेखेर आफ्नो पोजिसन बनाएको जानकारी दिइन् । अर्यालले वार्ताको टेबलबाटै कूटनीतिक हिसाबले समस्या समाधान गरिने जानकारी दिँदै समय आएपछि नेपालले
आफ्नो नक्सा जारी गर्ने बताइन् ।
यसअघि कुनै पनि सरकारले प्रस्ट ढंगले अतिक्रमित भूभाग आफ्नो हो भनेर पत्र नलेखेको प्रसंग जोड्दै उनले परराष्ट्र मन्त्रालयको नेतृत्वमा समस्या समाधान गर्ने प्रयास भइरहेको बताइन् । ‘कूटनीतिक कुरा सबै बाहिर भन्ने विषय हुँदैनन्,’ उनले भनिन्, ‘सचिव, मन्त्री र प्रधानमन्त्री कुन स्तरबाट समस्या टुंग्याउने सबै विकल्प रहेको बताइन् ।’ भारतले दाबी गरेको भूमि उसले पनि त्यसै सजिलै पक्कै नछाड्ने उनको भनाइ छ । ‘सरकार आफ्नो भूमि फिर्ता गराउने कुरामा अडिग छ,’
उनले भनिन् ।
सन् १८२७ देखि १८५६ सम्मको नक्सामा लिम्पियाधुराबाट बग्ने नदी नै सीमा नदी हो । नेपालको नक्सामा कालापानी र लिपुलेक रहेको बताइन् । लिम्पियाधुरालाई नक्सामा राखेर प्रकाशित गर्न प्रमाण संकलन भइरहेको उनले जानकारी दिइन् ।
भारतीय सेना हटाउन निर्देशन
समितिले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तैनाथ भारतीय
सेनालाई फिर्ता गराएर मुलुकको भौगोलिक अखण्डता जोगाउन सरकारलाई निर्देशन दिएको छ । समितिले ५ बुँदे निर्देशन जारी गर्दै भारतीय सेना फिर्ता गराउन कूटनीतिक पहल थाल्न भनेको छ । समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समावेश गरेर अविलम्ब नेपालको नक्सा जारी गर्न पनि निर्देशन दिएको छ । समितिले गृह, भूमि व्यवस्था, परराष्ट्रसहितका मन्त्रालयको संयुक्त प्रयासमा समन्वयकारी संयन्त्र बनाएर सीमा समस्या समाधान गर्न एकीकृत रूपमा प्रभावकारी काम गर्नुपर्ने निर्णय गरेको छ ।
समिति सभापति पवित्रा निरौला खरेलका अनुसार दार्चुलाको कालापानीलगायत क्षेत्रका बासिन्दालाई नेपाली भूमिमा आउजाउ गर्न सहज हुने गरी तत्काल बाटो निर्माण गर्न निर्देशन दिइएको छ । सांसदहरूले सीमाका बासिन्दा लेकबाट आफ्नो घर बेंसी झर्ने क्रममा नेपाली भूमिमा गोरेटो बाटोसमेत नभएको बताएपछि समितिले बाटो बनाउन भनेको हो ।

समाचार

अदालतले बोलायो प्रतिवादी

आलम प्रकरण
- शिव पुरी

(रौतहट) - राजपुर बमकाण्डका फरार प्रतिवादीलाई हाजिर हुन जिल्ला अदालतले पत्र पठाएको छ । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुर फरदहवामा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप लागेका १० जना प्रतिवादीलाई अदालतले ३५ दिनभित्र हाजिर हुन पत्र पठाएको हो ।
पूर्वमन्त्री शेख इद्रिसको राजपुर फरदहवास्थित गोठमा ०६४ चैत २७ गते साँझ भएको बम विस्फोटमा घाइते भएका सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई चिम्नीभट्टामा हालेर जलाएर मारेको भन्दै ११ जनाविरुद्ध कर्तव्य ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोगमा मुद्दा चलाइएको थियो । यस प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलम पुर्पक्षका लागि नख्खु जेलमा छन् । आलमबाहेक अरू पक्राउ परेका छैनन् ।
राजनीतिक शक्तिको आडमा १० वर्षसम्म गुपचुप पारिएको घटनाको अनुसन्धान जिल्ला प्रहरी प्रमुख भएर एसपी भूपेन्द्र खत्री आएलगत्तै सुरु भएको थियो । खत्रीले आलमलाई असोज २६ गते पक्राउ गरेका थिए । चिम्नीमा जिउँदै हालेर हत्या गरिएको अभियोगमा प्रहरीले सांसद आलम तथा उनका भाइ महताब आलमसँगै मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहलाई प्रतिवादी बनाएको थियो । आलम पक्राउ परेपछि सबै फरार भएको जिल्ला प्रहरीका डीएसपी नवीन कार्कीले बताए । ‘अदालतले ३५ दिनभित्र हाजिर हुन भनिसकेको छ । आफ्नो संलग्नता छ/छैन प्रमाणसहित हाजिर हुन अदालतले पत्राचार गरेको हो,’ उनले भने, ‘घटनाका प्रतिवादी हामी पनि खोजिरहेका छौं ।’ फरार सबै भारतमा लुकेको प्रहरीको अनुमान छ । अदालतले प्रतिवादी सबैको घरमा पत्र पठाएको हो ।
प्रहरीको सुरक्षा निरन्तर
राजपुर फरदहवा बमकाण्डका जाहेरवाला, प्रत्यक्षदर्शी, साक्षी र पीडितलाई प्रहरीले सुरक्षा प्रदान गरिरहेको छ । घटनासित प्रत्यक्ष सरोकार राख्ने पीडित लगायतकालाई कडा सुरक्षा दिइएको छ ।
जिल्ला प्रहरीले पीडितलगायत साक्षीहरूसित टेलिफोन र प्रत्यक्ष भेटेरै संवाद गरिरहेको छ । अदालतले साक्षी सुरक्षालाई ध्यान दिन भनी आदेश गरेको थियो । यही कारण प्रहरीले उनीहरूको निगरानी बढाएको हो । घटनाका एक घाइते भारतीय भएकाले प्रहरी प्रधान कार्यालयले भारतीय सुरक्षा अधिकारीलाई सुरक्षा दिन अनुरोध गरेको छ । बम विस्फोटमा छोरा गुमाएका सरुअठाका श्रीनारायण सिंहलाई सबैभन्दा बढी सुरक्षा थ्रेट छ । उनका लागि जिल्ला प्रहरीले हतियारधारी सुरक्षाकर्मी खटाएको छ । ‘हामीले अधिकतर साक्षी तथा सरोकारवालालाई २४ सै घण्टा सम्पर्कमा रहन अनुरोध गरेका छौं,’ जिल्ला प्रहरी प्रमुख खत्रीले भने, ‘हामी कुनै पनि साक्षी र पीडितलाई केही हुन दिँदैनौं ।’

समाचार

ह्याकरको बिहे प्रस्ताव !

- मातृका दाहाल

(काठमाडौं) - दुई वर्षअघि मकवानपुरका राहुल शर्मा (नाम परिवर्तन) लाई एक अपरिचित युवतीले विदेशबाट भाइबरमा सम्पर्क गरिन् । नचिनेको नम्बरबाट भाइबरमा सन्देश आएपछि राहुलले सुरुमा चासो दिएनन् । ती युवतीले उनलाई पुनः सन्देश पठाइन् ।
‘म स्ट्यान्डर्ड चार्टर्ड बैंक इन्डोनेसियाको कर्मचारी हुँ, मेरा आफन्त सेलिङ सुमनका नाममा बैंकमा ८ करोड यूएस डलर छ, सुमनको निधन भएका कारण बैंकको रकम झिक्न पाएको छैन, मलाई तपाईंको हेल्प चाहिएको छ,’ विदेशी महिलाबाट यस्तो सन्देश पाएपछि राहुल दंग परे । लोभिए । अनि भाइबरमै ती युवतीलाई जवाफ पठाए, ‘यसमा म तपाईंलाई के सहयोग गर्न सक्छु ?’
युवतीले तुरुन्तै लेखिन्, ‘तपाईं बैंकमा भएको सुमनको प्रोपर्टी दाबी गर्न यहाँ आउनुपर्‍यो, यसका लागि ‘सेलिङ अफ सुमन एट जिमेल डटकम’ ठेगानाको इमेल खाता खोल्नुपर्छ ।’ युवतीको आग्रहमा राहुलले नयाँ इमेल खाता खोले । भाइबर र इमेलमा दुई जनाबीच इन्डोनेसियाको बैंकमा भएको रकमबारे कुराकानी हुन थाल्यो । ती युवतीले नेपाल आएर राहुलसँग बिहे गर्ने अनि प्रक्रिया पुर्‍याएर फर्किने बाचा गरिन् । राहुल राजी भए । बैंकमा रहेको डलर झिकेर खाता बन्द गर्नेबारे पनि पटक–पटक कुराकानी भयो । बैंकको ८ करोड झिकेर खाता बन्द गर्न केही डलर आवश्यक भएकाले नेपालबाट पठाइदिन राहुललाई ती युवतीले फेरि इमेल पठाइन् । यससम्बन्धी लामो कुराकानीपछि युवतीलाई पैसा पठाउन राहुल तयार भए । युवतीले काठमाडौंमा भएका रमेश खड्काको ठेगाना दिइन् । राहुल युवतीलाई पैसा पठाउन रमेशको सम्पर्कमा पुगे । राहुलले रमेशको खातामा पटक–पटक गरी ७ लाख रुपैयाँ इन्डोनेसियाकी युवतीलाई पठाइदिन भन्दै जम्मा गरे ।
राहुलले रमेशको खातामा ७ लाख रुपैयाँ जम्मा गरेपछि न रमेश सम्पर्कमा आए, न ती विदेशी युवती । युवतीसँग भएको कुराकानी र ती युवतीलाई दिन भन्दै रमेशको बैंक खातामा जम्मा गरेको ७ लाखबारे राहुलले आफ्नी पत्नीलाई सुइँकोसम्म दिएका थिएनन् । रमेश र ती युवती सम्पर्कविहीन भएपछि राहुलले आफू ठगिएको चाल पाए ।
आफूलाई इन्डोनेसियाको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ८ करोड डलर भएको बताउने ती युवती अरू कोही नभएर अन्तर्राष्ट्रिय ठगी र बैंक
ह्याकरका नाइके नाइजेरियन नागरिक पिटर हर्मन थिए । पिटर बैंक/वित्तीय संस्थाको सर्भर ह्याकिङ र अनलाइन ठगी अभियोगमा नेपाल र भारतीय प्रहरीको अनुसन्धानमा छन् । उनलाई एक महिनाअघि भारतीय प्रहरीले पक्राउ गरेको छ । पिटरसहितको गिरोहबाट राहुलजस्तै अरू १५ जना यसरी नै ठगिएको भेटिएका छन् । महानगरीय अपराध महाशाखाले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । ‘अन्तर्राष्ट्रिय ह्याकर र ठग तथा नेपालस्थित उनीहरूका एजेन्टको फन्दामा परेका १५ जना सम्पर्कमा आएका छन्,’ महाशाखा प्रमुख एसएसपी सहकुल थापाले भने, ‘गिरोहले विदेशबाट पार्सल आएको, विदेशी बैंकमा डलर भएको, विकसित मुलुकमा लैजाने भन्दै विवाह गर्नेलगायत लोभ देखाएर नेपालीलाई ठग्ने गरेको अनुसन्धानबाट देखिएको छ ।’ अपरिचित व्यक्तिबाट आएका यस्ता प्रलोभनका कारण थुप्रै व्यक्ति पीडित हुने गरेको भन्दै थापाले यसप्रति सजग रहन र त्यस्ता प्रलोभनमा नपर्न पनि सबैलाई आग्रह गरे ।
गोवामा बसेर डिल
ठमेलमा रेस्टुराँ सञ्चालन गर्दै आएका दोलखाका रमेश खड्काको समूहमार्फत नेपालमा ठगी र ह्याकिङको धन्दा चलाइरहेको अन्तर्राष्ट्रिय गिरोहले भारतको गोवासहितका स्थानमा बसेर दुवै देशमा अपराध योजना बनाउने गरेको पाइएको छ । खड्का, विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार मंगलबार पक्राउ परेपछि ह्याकरको सञ्जाल फेला परेको हो ।
पानस रेमिट र कृषि विकास बैंकको सिस्टम ह्याक गरी करिब ५ करोड झिकेको घटनाका आरोपित असोज पहिलो साता पक्राउ परेपछि महानगरीय अपराध महाशाखाको टोली अनुसन्धानका लागि गोवासम्म पुगेको थियो । त्यसक्रममा नेपालका अन्य बैंक/वित्तीय संस्थाबाट समेत करिब १७ करोड रुपैयाँ ह्याकरले लगिसकेको तथ्य भेटिएको थियो ।
अनुसन्धानकै क्रममा खड्कासहितको समूह पक्राउ परेको हो । ‘बैंक ह्याकिङ र अनलाइन ठगीबाट संकलित रकम सुरुमा केही कमिसन लिएर खड्काको समूहले गिरोहलाई हुन्डी र अनलाइन भुक्तानीमार्फत पठाउँदै आएको रहेछ,’ एक अनुसन्धान अधिकृतले कान्तिपुरसँग भने, ‘पछि खड्काले
ह्याकरलाई पैसा पठाउन छोडेपछि धादिङका खम्ब घले र नुवाकोटका लवाङ तामाङको समूहमार्फत सेटिङ मिलाइएको पाइयो ।’
अनुसन्धान क्रममै प्रहरीले खड्काको बैंक अफ काठमाडौंको खाताबाट ३ करोड र लुम्बिनी विकास बैंकबाट २ करोड बाहिरिएको भेटेको छ । यसबाहेक करिब १७ करोड रुपैयाँ ह्याकर र अनलाइन ठगीको गिरोहले लगिसकेको अनुसन्धानबाट खुलेको छ । त्यसको विवरण बैंकले दिन अटेर गरेको महाशाखाका एक अधिकारीले बताए । खड्कापछि गिरोहले परिचालन गरेको सेटिङमा भक्तपुरकी दिलमाया थापासहितका व्यक्ति पनि एजेन्टका रूपमा सक्रिय छन् । त्यसमध्ये लवाङ असोजमा पक्राउ परिसकेका छन् । खम्ब र दिलमायासहित गिरोहका ३ दर्जन एजेन्ट अझै फरार रहेको महाशाखाका अधिकारीले जानकारी दिए ।
ह्याकरकै आयात–निर्यात कम्पनी
बैंक ह्याकिङ र अनलाइनमार्फ विश्वभर ठगीको सञ्जाल फैलाएको गिरोहका नाइके नाइजेरियाली नागरिक पिटर हर्मनले भारतमा आयात–निर्यात कम्पनी नै स्थापना गरेको पाइएको छ । पिटरले केही भारतीय नागरिकलाई एजेन्टका रूपमा परिचालन गरेर खाद्यसामग्री आयात–निर्यात गर्ने कम्पनी दर्ता गरेको पाइएको हो ।
ह्याकरको समूह खोजी गर्ने क्रममा तिहार अघि र पछि गरी दुईपटक महानगरीय अपराध महाशाखाको टोली गोवा पुगेको थियो । डीएसपी दुर्गा दाहालको नेतृत्वमा गएको टोलीले पिटर र बेलायती नागरिक मोरिस स्मिथसहितको गिरोह तथा उसले नेपालमा विस्तार गरेका एजेन्टबारे भारतीय प्रहरीसँग समन्वय गरेर अनुसन्धान गरेको थियो । ‘पिटर र मोरिसको गिरोहले आवरणमा आयात–निर्यात कम्पनी खडा गरेर ठगी र ह्याकिङको सञ्जाल चलाउने रहेछ,’ स्रोतले भन्यो, ‘नेपालका एजेन्ट पनि गोवास्थित गिरोहमार्फत नै सञ्चालित छन् ।’

Page 3
समाचार

१० करोडको भ्रष्टाचार मुद्दा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तातोपानी भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा १० करोड ५६ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अर्थ मन्त्रालयका उपसचिव बस्नेतमाथि आफ्नो र जेठानका नाममा सम्पत्ति लुकाएको आरोप छ । अख्तियारले उनीमाथि १७ लाख रुपैयाँ घूस लिएको आरोपमा अर्को मुद्दासमेत दायर गरेको छ ।
बस्नेतमाथि मुद्दा जाने निश्चित भइसकेपछि केही दिनअघि अर्थ मन्त्रालयले उनलाई तातोपानी भन्सारबाट मन्त्रालयमा तानेको थियो । बस्नेतले ९ करोड २१ लाख रुपैयाँ संखुवासभाको खाँदबारी बस्ने जेठान नवीनकुमार गौलीको खातामा लुकाएको आरोप छ । बस्नेतले आफ्नो नाममा लुकाएको एक करोड ३५ लाख रुपैयाँसमेत गैरकानुनी भएको अख्तियारको दाबी छ ।
२०४५ सालमा लेखापाल भएर सेवा प्रवेश गरेका बस्नेत हाल उपसचिव छन् । विभिन्न स्रोतबाट एक करोड ७८ लाख रुपैयाँ आर्जन गरेका उनले त्यसको ६ गुणा बढी रकम गैरकानुनी आर्जन गरेको अख्तियारको दाबी छ । आफ्नै खाताबाट उनले ३ करोड १३ लाख खर्च गरेको भेटियो । बाँकी हिसाब कटाउँदा एक करोड ३५ लाख अस्वाभाविक आर्जन गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।
भन्सार छुटाउने क्रममा व्यापारी, व्यवसायी र भन्सार एजेन्टसँग घूस लिएको उजुरीमाथि छानबिन हुँदा बस्नेतले उक्त रकम जेठान गौलीको खातामा लुकाएको अख्तियारको भनाइ छ । जेठानले खरिद गरेको सम्पत्ति बस्नेतले बकसका रूपमा लिने गरेको अख्तियारको दाबी छ । उनीहरूको जग्गा, होटल व्यवसाय र अन्यत्र पनि लगानी रहेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार बस्नेत विराटनगर भन्सारमा काम गरेको अवधिमा गौलीले खाँदबारी वरपर सय रोपनीभन्दा बढी जग्गा खरिद गरेका थिए भने अन्यत्र पनि लगानी फैलाए । अख्तियारले बस्नेतका साथै उनकी श्रीमती सविता गौली, जेठान नवीनकुमार गौली, नवीनकी श्रीमती शकुन्तला गौली र छोरा सुलभ गौलीविरुद्ध समेत मुद्दा चलाएको छ । उपसचिव बस्नेतको सम्पत्ति छानबिनका क्रममा उनको खातामा १७ लाख रुपैयाँ जम्मा भएको खुल्यो । जम्मा गर्नेमाथि छानबिन हुँदा विदेशबाट सामान ल्याउने व्यवसायीले भन्सार छुटाउने प्रयोजनका लागि घूस बुझाएको बयान दिए । त्यो रकमपछि उनका जेठान नवीनकुमार गौलीको खातामा सारिएको पाइयो । अख्तियारले बस्नेत र गौलीमाथि १७ लाख रुपैयाँ घूस खाएको अभियोगमा समेत शुक्रबार नै विशेष अदालतमा मुद्दा चलाएको छ ।

समाचार

श्रमसहचारी नियुक्ति प्रक्रिया सुरु

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारको प्रमुख गन्तव्य देशमा नयाँ श्रम काउन्सिलर र श्रमसहचारी नियुक्ति प्रक्रिया अगाडि बढाएको छ ।
खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारको श्रम मामिलामा सहजीकरण गर्न सरकारले नियुक्त गरेर पठाएका श्रमसहचारीको सेवा अवधि पुस पहिलो साता सकिँदै छ । मन्त्रालयले पदावधि सकिन लागेका श्रम काउन्सिलर तथा सहचारीको म्याद दुई महिना थप गरेको छ । ‘नयाँ श्रमसहचारी छान्ने प्रक्रिया बिहीबारदेखि सुरु भएको छ,’ श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले भने ।
श्रमले ०७४ माघ २५ भित्र श्रमसहचारी नियुक्तिका लागि आवेदन दिएकालाई पुनः विषयवस्तुको ज्ञान तथा प्रस्तुतीकरणको मौका दिएको छ । त्यतिखेरदेखि नै श्रमसहचारीको नियुक्ति प्रक्रिया रोकिएको थियो । सरकारले कतार, साउदी अरब, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) मा श्रम काउन्सिलर तथा कुवेत, ओमन र बहराइनमा सहचारी छनोट गर्न लागेको हो ।
यूएई, साउदी अरब (रियाद) र यूएईमा दुई वर्षअघि श्रम काउन्सिलरको पदावधि सकिए पनि नयाँ पठाइएको छैन । मन्त्रालयले नयाँ श्रमसहचारी दुई महिनाभित्र पठाइसक्ने जनाएको छ । वैदेशिक रोजगार ऐनअनुसार ५ हजारभन्दा बढी महिला कामदार भएका मुलुकमा श्रमसहचारी पठाउने नियम छ । उनीहरूलाई नेपाली कामदार कार्यरत मुलुकको श्रम तथा रोजगारको स्थिति, अध्यागमनसम्बन्धी तथ्यगत जानकारी तथा त्यस देशले श्रम, अन्तर्राष्ट्रिय मानवअधिकार र कामदारको हित संरक्षणार्थ चालेका कदमबारे नेपाल सरकारलाई जानकारी गराउनेलगायत जिम्मेवारी तोकिएको छ ।

समाचार

किन बल्झिरहन्छ विवाद ?

कांग्रेसमा अहिले देखिएको विवाद आसन्न महाधिवेशनबाट को नेतृत्वमा आउने भन्नेमा केन्द्रित छ तर बारम्बार विवाद उठ्नुका पछाडि भने पार्टी सामूहिक वा एकल नेतृत्वबाट चलाउने भन्ने द्विविधा प्रमुख कारण हो ।
- कुलचन्द्र न्यौपाने

(काठमाडौं) - कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनअघि आफू निकटस्थहरूसँग भनेका थिए, ‘रामचन्द्रले अझै पनि मलाई सभापति भएको ‘रिकजनाइज’ गर्न सकेका छैनन् ।’ आफू नेतृत्वमा आएदेखि नै वरिष्ठ नेता रामचन्द्र पौडेलले सहयोग नगरेको उनको गुनासो छ । पौडेलको पनि उस्तै गुनासो छ, चार पटक प्रधानमन्त्री र पार्टी सभापति भइसकेका देउवाले आफूलाई कुनै कुरामा साथ दिएनन् ।
यतिबेला कांग्रेसभित्र सुरु भएको किचलोको प्रमुख कारण राजनीतिका यी दुई समकालीन दौंतरीबीचको द्वन्द्व हो । विधानतः पार्टीको १४ औं महाधिवेशन अबको दुई महिनाभित्र गर्नुपर्छ तर यो बीचमा महाधिवेशन नहुने पक्कापक्की छ । विधानअनुसार अहिलेकै कार्यसमितिको कार्यकाल एक वर्ष थप्नुको विकल्प छैन । त्यसमा पौडेलपक्षीय नेताहरूले उतिसाह्रो विरोध गरेका छैनन् तर थपिएको समयमा पनि महाधिवेशन नगरी संविधानले दिएको ६ महिनाको समयसमेत लिने हो कि भन्ने उनीहरूको आशंका छ । देउवाको पृष्ठभूमि र कार्यशैलीले पौडेलको आशंकालाई बल दिएको छ ।
‘समय गुजार्दै जाने र महाधिवेशन गराउन नसकेको कारण देखाएर अहिलेकै कार्यसमिति निर्वाचित भएको भनी निर्वाचन आयोगमा नामावली बुझाउने प्रपञ्च त होइन ?’ केही समयअघि पौडेलले केन्द्रीय कार्यसमिति बैठकमै भनेका थिए ।
देउवा भने पार्टी संरचनाहरूलाई आफूअनुकूल बनाएर मात्रै महाधिवेशनमा जाने योजनामा देखिन्छन् । उनले त्यहीअनुसार संरचनाहरू गठन–पुनर्गठन गर्न खोजिरहेका छन् । बिहीबार केन्द्रीय कार्यालयस्थित पौडेलको कार्यकक्षमा भएको छलफलले पनि यस्तै निचोड निकालेको थियो । पार्टीभित्रको मूल मुद्दा महाधिवेशनलाई पन्छाएर विभागको संख्या थप्ने र आफ्ना निकटकालाई व्यवस्थापन गर्ने योजना अघि बढाउनु महाधिवेशनलाई प्रभावित पार्ने रणनीति भएको पौडेल समूहको बुझाइ छ । ‘पार्टीमा पकड राखिरहन देउवाले जे पनि गर्न सक्छन्, यही बेला हामीले नियन्त्रण गर्न सक्नुपर्छ भन्ने हाम्रो पक्षको पोजिसन हो,’ पौडेलनिकट एक केन्द्रीय सदस्यले भने, ‘रोक्न सकिएन भने १४ औं महाधिवेशनमा झनै अप्ठ्यारो पर्न सक्छ ।’
देउवामा पनि पौडेल र उनी पक्षीय नेताहरूप्रतिको बुझाइ उस्तै खालको छ । आसन्न महाधिवेशनको संघारमा विभाग गठन गर्न नसकेको, नेविसंघ, तरुण दललगायत भ्रातृसंस्थाको अधिवेशन गर्न नसकेको, केन्द्रीय कार्यसम्पादन समिति, संसदीय समिति गठन नभएको, प्रदेश कार्यसमिति नबनाएको जस्ता मुद्दालाई महाधिवेशनमा आफूविरुद्ध प्रयोग हुन सक्ने भय उनमा छ । आसन्न महाधिवेशनबाट पनि सभापतिमा निरन्तरता खोजेका देउवा यस्ता कमी–कमजोरीलाई मुद्दा बनाउन नदिन सचेत देखिन्छन् । त्यसैले सहमति नभए पनि अवरोध चिरेर अघि बढ्ने योजनामा उनी पुगेका हुन् ।
पौडेलपक्षको बहिष्कारका बीच बिहीबार केन्द्रीय कार्यसमिति बैठक चलाउनु त्यसैको सन्देश भएको देउवानिकट सदस्यहरू बताउँछन् । ‘अब मसँग समय छैन, सहमति नभए पनि पार्टीका रोकिएका, निर्णय हुन नसकेका सबै काम पूरा गर्छु,’ देउवाले आफ्नो समूहमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘गरेन भन्ने र गर्न पनि नदिने रणनीतिमा अब फस्न हुन्न ।’ दुवै पक्षको रणनीति र आशंका पार्टीको १४ औं महाधिवेशनबाट को नेतृत्वमा आउने भन्ने संघर्षमा केन्द्रित रहेको बताउँछन् केन्द्रीय सदस्य गगन थापा । कार्यकाल सकिन लाग्दा पनि महाधिवेशनको कार्यतालिकामा छलफल नगर्नु सभापतिको अर्घेल्याइँ भएको थापाको बुझाइ छ । ‘दुई महिना बाँकी छँदा सभापतिले पार्टीलाई दिशानिर्देश गर्नुपर्छ कि पर्दैन ?’ उनको प्रश्न छ, ‘सभापतिले कहिले अधिवेशन गर्न चाहनुभएको हो ? कसरी गर्न खोज्नुभएको हो ? एक वर्ष बढाउन खोज्नुभएको हो कि अझै तन्काउन लाग्नुभएको हो ?’ यी कुरा प्रस्ट भएपछि मात्रै पार्टीका विभागलाई यति समयसम्म किन खाली गर्ने भन्ने तर्क गर्न मिल्ने उनको भनाइ छ ।
समयमै महाधिवेशन गर्नुपर्ने मुद्दा पौडेलले एक वर्षदेखि उठाइरहेका छन् । ०७५ पुस पहिलो साता सम्पन्न महासमिति बैठकमै उनले ०७६ फागुन ७ गते केन्द्रीय महाधिवेशन गर्ने गरी तालिका ल्याउन प्रस्ताव राखेका थिए । स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचनमा पार्टी पराजित भएको अपजस आफूमाथि लागेका बेला देउवाले महाधिवेशनको चर्चा गर्नै चाहेनन् । अहिले पनि उनले महाधिवेशनलाई टारिरहेका छन् ।
देउवा अहिले जुन दलदलमा फसेका छन्, त्यो उनी आफैंले सिर्जना गरेका हुन् । १२ औं महाधिवेशनमा उनी सुशील कोइरालासँग पराजित भए तर कोइरालालाई आफ्नो योजनाअनुसार काम गर्न दिएनन् । उनले हरेक कुरामा भागबन्डा खोजेर अप्ठ्यारो पारिरहे । फलतः पार्टी भागबन्डामै चल्न थाल्यो । ०६४ असोजमा पार्टी एकीकरण हुँदा
६० र ४० को भागबन्डाको आधार बनाइएको थियो ।
त्यही आधारमा देउवाले पार्टीमा ४० प्रतिशतको हिस्सा खोजेका थिए ।
पदाधिकारीदेखि पार्टीका विभाग, समिति र सरकारमा समेत उनले तत्कालीन सभापति कोइरालासँग लडेरै ४० प्रतिशत हिस्सा लिएका थिए । आफ्नो पक्षका तरुण दल, महिला संघलगायतका भ्रातृसंस्था कोइरालाले विघटन गरिदिएपछि देउवाले केन्द्रीय सदस्यबाटै राजीनामा दिएका थिए । पटक–पटक उनी र उनी पक्षीय समूहले बैठक बहिष्कार गरे । ४० प्रतिशत हिस्सासहितको प्याकेजमा सहमति बनेपछि मात्रै उनले राजीनामा फिर्ता लिएका थिए । कोइरालाले पनि आफ्नो कार्यकालको आखिरी समयमा पार्टीका केन्द्रीय विभाग गठन गरे तर विवादकै कारण काम गर्न सकेनन् । भागबन्डा नमिलेको भन्दै देउवा समूहका सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए । यस्तै अवरोध र विवादका बीच कोइरालाका पालामा पनि पार्टी अनिर्णयको बन्दी बन्न पुगेको थियो ।
१३ औं महाधिवेशनमा देउवाले परिस्थिति त उल्ट्याए तर आफैंले संस्थागत गरेको भागबन्डालाई भने मेट्न सकेनन् । वरिष्ठ नेता पौडेलपक्षले पार्टीका सबै तह र संरचनामा ४० प्रतिशत हिस्सा खोज्दै आएको छ । १३ औं महाधिवेशनबाट त पार्टीमा तेस्रो समूहसमेत निर्माण भएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वमा रहेको यो समूहले पनि हैसियतअनुसारको हिस्सा खोज्दै आएको छ । देउवा अहिले भागबन्डा मिलाउन नसक्ने र निर्णय पनि गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
यसका पछि पार्टीको १४ औं महाधिवेशनको प्रतिस्पर्धा मात्रै कारण नभएको बताउँछन्, केन्द्रीय सदस्य श्याम घिमिरे । उनका अनुसार पार्टी एकल नेतृत्वमा चल्ने या सामूहिक नेतृत्वमा भन्ने द्विविधाले पार्टी अनिर्णयको बन्दी बन्न पुगेको छ । ‘बीपीदेखि गिरिजाप्रसादको सुरुवाती कालखण्ड एकल नेतृत्वको अभ्यासमा चल्यो । गिरिजाप्रसादकै पछिल्लो कार्यकाल सफल भएन । त्यसपछि सामूहिक नेतृत्व र संस्कृतिको पद्धति हामीले बसाल्यौं,’ घिमिरे भन्छन्, ‘यसले पावर सेयरिङको कुरा ल्यायो । लोकतन्त्रमा जित्नेले कानुन र प्रक्रियाअनुसार काम गर्न पाउनुपर्ने मान्यता हो तर पावर सेयरिङले त्यस्तो मान्यता खण्डित गर्‍यो । एकल जवाफदेहिता रहेन । पार्टी अप्ठ्यारोमा फस्दै गयो ।’
सभापति देउवाले समेत चार वर्षको कार्यकाल सकिन लाग्दा पनि केन्द्रीय विभाग गठन गर्न सकेका छैनन् । विधानअनुसार महाधिवेशन सम्पन्न भएको दुई महिनामा विभाग गठन (हाल संशोधित विधानमा ६ महिना) गरी सक्नुपर्ने हो । कार्यकाल सकिन दुई महिना बाँकी छँदा देउवाले विभाग गठनको प्रस्ताव केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेका छन् । एकातिर पार्टीमा सहमति छैन, अर्कोतर्फ देउवाको यो प्रस्ताव विधानविपरीत छ । दस महिनाअघिदेखि नेविसंघ नेतृत्वविहीन छ । चार जना पदाधिकारीमा तरुण दलको कार्यसमितिको कार्यकाल सकिएको छ । केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति २७ महिनादेखि रिक्त छन् । दर्जन बढी भ्रातृसंस्थाको वर्षौंदेखि अधिवेशन हुन सकेको छैन ।
देउवानिकट घिमिरे सामूहिक नेतृत्व प्रणालीकै कारण पार्टी यथास्थितिमा चल्न थालेको टिप्पणी गर्छन् । ‘आफ्नो योजनाअनुसार अघि बढ्न खोज्दा द्वन्द्व बढ्छ । द्वन्द्व बढ्नभन्दा यथास्थितिमा पार्टी रहोस् भनेर निर्णय नगर्ने प्रवृत्ति देखियो, यो खतराको सूचक हो,’ उनले थपे, ‘अहिले पार्टीभित्रको मुख्य समस्या पनि यही हो, पार्टी सञ्चालनकै पद्धतिमाथि छलफल हुनु जरुरी छ । नत्र भोलिको सभापतिले पनि यही नियति भोग्ने हो ।’ नेविसंघका संस्थापक अध्यक्ष विपीन कोइराला भने पार्टीमा आदर्श नेता नभएकाले समस्या आएको बताउँछन् । ‘कांग्रेसमा अहिले पनि बीपी, सुवर्णशमशेर, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादजस्ता आइडियल नेता खोज्छौं तर हामीले आस गरेजस्तो क्षमता र योग्यता अहिलेको नेतृत्वमा छैन,’ देउवा र पौडेलका समकालीन रहेका कोइरालाको भनाइ छ, ‘आफ्ना आसेपासे र दातालाई मात्रै च्याप्न थालेपछि पार्टीमा कलह आउँछ ।’
हार्ने पक्षलाई योग्यता र क्षमताअनुसार कदर नगरी गुटका व्यक्तिलाई मात्रै संरक्षण गर्न खोज्दा सभापति देउवा पटक–पटक अप्ठ्यारोमा पर्ने गरेको बताए । उनका अनुसार देउवा र पौडेलबीच अहिले पार्टी सत्ता कसले कब्जा गर्ने भन्ने मुख्य संघर्ष छ ।

समाचार

भिसा स्टिकरमा अनुसन्धान

३९ करोड ३१ लाख हिनामिनाको आशंका, गृहले अख्तियारलाई पठायो विवरण
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले प्रवेशाज्ञा (भिसा) स्टिकरबापत संकलित राजस्वमध्ये करिब ३९ करोड ३१ लाख रुपैयाँ हिनामिना गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । अध्यागमनबाट लगिएका भिसा स्टिकरअनुसार राजस्व संकलन भएको नभेटिएपछि अख्तियारले गृह र परराष्ट्र मन्त्रालयबाट विवरण झिकाएर छानबिन थालेको हो ।
अख्तियारले गृह र परराष्ट्र मन्त्रालयलाई मंसिर १२ गते नै पत्र पठाएर आव २०७५/७६ मा भिसा स्टिकर र संकलित राजस्वको विवरण उपलब्ध गराइदिन भनेको थियो । त्यसको १३ दिनपछि गृहले अख्तियारलाई पत्र लेख्दै गत वर्ष विदेशस्थित नियोगलाई अध्यागमन विभाग हुँदै परराष्ट्र मन्त्रालयमार्फत ३४ लाख ७८ हजार ९ सय २० अमेरिकी डलरबराबरका १ लाख १६ हजार २ सय ४७ थान स्टिकर पठाएको जवाफ दिएको छ । गृहसचिव प्रेमकुमार राईले मंसिर २४ गते सचिवस्तरीय निर्णय गरेर भिसा स्टिकर हिनामिनासम्बन्धी रायसहितको विवरण पठाउन निर्देशन दिएका थिए । यो विषयमा अख्तियारको २ नम्बर महाशाखाले अनुसन्धान गरिरहेको छ । गृहले १३ पानाको फाइल पठाउँदै भिसा स्टिकरबापतको राजस्व परराष्ट्र मन्त्रालयबाट हरेक वर्ष अध्यागमन विभागमा पेस हुनुपर्नेमा अधिकांशले त्यसको पालना नगरेको जानकारी पनि अख्तियारलाई दिएको छ । ‘स्विट्जरल्यान्डको जेनेभा र भारतको नयाँदिल्लीस्थित नियोगबाट मात्रै मासिक रूपमा भिसा स्टिकरबापतको राजस्व विवरण आउने गरेका छ,’ अध्यागमन विभाग स्रोतले भन्यो, ‘यही ब्यहोरासहितको विवरण गृह हुँदै अख्तियारलाई पठाइएको छ ।’
विदेशमा नेपालका ३० वटा नेपाली दूतावास, ६ वटा कन्सुलर र ३ वटा स्थायी नियोगका कार्यालय छन् । हरेक वर्ष भिसा स्टिकरको रकम दाखिला गर्न ताकेता गर्दा पनि परराष्ट्र मन्त्रालयले अटेर गरेको अध्यागमन विभाग स्रोतको भनाइ छ । गृहले अख्तियारलाई पठाएको भिसा स्टिकरसम्बन्धी विवरणमा भनिएको छ, ‘अध्यागमन नियमावलीको दफा १२ (३) बमोजिम विदेशस्थित कूटनीतिक नियोगहरूबाट भिसा जारी गर्दा उठेको राजस्व विवरण मासिक रूपमा परराष्ट्र मन्त्रालयले अध्यागमन विभागलाई पठाउनुपर्ने व्यवस्था रहेकामा सोअनुसार हुने गरेको छैन । केही नियोगबाट राजस्वको बोधार्थ कपी प्राप्त हुने गरेको छ ।’ २०७४/७५ मा नियोगहरूलाई अध्यागमनले १ लाख ७४ हजार २ सय ७६ थान भिसा स्टिकर उपलब्ध गराएको थियो । त्यसमाथि पनि अनुसन्धान आवश्यक रहेको गृृह मन्त्रालय स्रोतले जनाएको छ । २०७५ चैतमा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कूटनीतिक, सरकारी, पर्यटक, अध्ययनलगायत ११ किसिमका प्रवेशाज्ञा जारी हुँदै आएकामा कूटनीतिक नियोगबाट जारी भएका स्टिकरको राजस्व सरकारलाई बुझाइएको छैन ।
अख्तियारले भिसा जारी गर्ने नियोगका अधिकारीको विवरण पनि मन्त्रालयबाट लगेको छ । तर यसलाई गोप्य राखिएको छ । विभागले २०७४/७५ मा ४५ करोड ८६ लाख र कूटनीतिक नियोगबाट ६२ करोड ६५ लाख ८७ हजार राजस्व संकलन गरेको थियो । तर स्टिकरअनुसार राजस्व विवरण नदेखिएको विभागको भनाइ छ । ‘भिसा स्टिकर जारी भएपछि त्यसअनुसारको राजस्व संकलन हुनुपर्छ, स्टिकर खपत नभए स्टिकर विभागमै फिर्ता गरिनुपर्छ,’ अध्यागमन स्रोतले भन्यो, ‘भिसा स्टिकर खपत भएको देखाउने तर राजस्व त्यसअनुसार नहुने देखिएपछि हामीले पनि अनुसनधान हुनुपर्छ भनेका हौं ।’ २०७४/७५ मा ५ लाख ६७ हजार ४ सय ७६ थान भिसा स्टिकर जिन्सी खाताबाट खर्च जनाएकामा विदेशस्थित कूटनीतिक नियोगबाट १ लाख ७४ हजार २ सय ७६ थान खपत भएको उल्लेख गरिएको छ ।
परराष्ट्र सचिव शंकर बैरागीले अख्तियारले दिएको निर्देशन र पत्रबारे बिहीबारसम्म कुनै जानकारी नपाएको प्रतिक्रिया दिए । ‘प्रक्रियामा होला, मेरो जानकारीमा आएको छैन,’ उनले कान्तिपुरसँग भने ।

समाचार

‘संसद्मा यौन हिंसा भएको छैन’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– गण्डकी प्रदेशसभाकी सदस्य पुष्पा केसी भण्डारीले समाजका विभिन्न क्षेत्रमा यौनहिंसाका घटना हुने गरे तापनि संसद्भित्र आफूले यौन दुर्व्यवहारका घटना भोग्नु नपरेको स्पष्ट पारेकी छन् । भण्डारीले मंसिर २३ गते कान्तिपुरमा छापिएको ‘संसद्भित्रै यौनहिंसा भयो’ शीर्षक समाचारप्रति प्रतिक्रिया जनाउँदै यस्तो धारणा राखेकी हुन् ।
आफूले यौनहिंसाका आम प्रवृत्तिबारे उल्लेख गरे तापनि संसद् र सांसद भन्ने शब्दचाहिँ कतै प्रयोग नगरेको उनको दाबी छ । ‘हामीले अनुभव गरेका छौं (समाजमा) यौनहिंसा छ । एकदम हिंसा छ । हामीसँग बोल्दाखेरी मानिसहरूले डबल मिनिङ आउने शब्दहरू बोल्छन् । हामीसँग डिफरेन्ट फिलिङ दिने गरी हात मिलाउँछन्, छुन आउँछन् । त्यसलाई कसरी ग्रहण गर्ने ?’ प्रदेशसभा सदस्य भण्डारीले मंसिर २२ गते मिडिया हाउसद्वारा पोखरामा आयोजित एक कार्यक्रममा भनेकी थिइन्, ‘हामीसँग यस्तो व्यवहार हुन्छ भने यो हिंसा होइन ? हामीले त्यस्तो फिल गर्ने तरिकाले मान्छेले डिल गर्दछ भने त्यो हिंसा होइन ?’
गण्डकी प्रदेशसभामा यौनहिंसाका घटना भएको भन्ने महिला सांसदहरूको भनाइ सार्वजनिक भएपछि व्यापक प्रतिक्रिया उत्पन्न भयो । यही सन्दर्भमा भण्डारीले समाजमा यौनहिंसा भए पनि संसद्भित्र व्यक्तिगत रूपमा आफूले त्यस्तो घटनाको सामना गर्नु नपरेको बताएकी हुन् ।

समाचार

नेपाल–फ्रान्स परामर्श संयन्त्र

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– द्विपक्षीय सम्बन्ध स्थापना भएको करिब सात दशकपछि नेपाल सरकार र फ्रान्स सरकारबीच पहिलो पटक परराष्ट्र मन्त्रालय स्तरीय ‘द्विपक्षीय परामर्श संयन्त्र’ स्थापना भएको छ । राजधानीमा शुक्रबार भएको दुई पक्षीय बैठकमा उक्त संयन्त्रको सहमतिपत्रमा हस्ताक्षर भएको हो । द्विपक्षीय सम्बन्ध र क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा समान चासो भएका विषयहरूलाई नियमित रूपमा पुनरावलोकन गर्न संयन्त्र स्थापना गरिएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दौत्य सम्बन्ध स्थापनाको १८ वर्षपछि सन् १९६७ मा नेपाल र फ्रान्सले एकअर्काका मुलुकमा आआफ्ना राजदूतावासको स्थापना गरेका थिए ।
नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले र फ्रान्सको तर्फबाट नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियर लेगरले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र फ्रान्सका तर्फबाट पहिलो संयन्त्रको बैठकमा उपस्थित भएका पदाधिकारीहरूको उपस्थिति थियो । बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र फ्रान्सको तर्फबाट परराष्ट्र मामिलाका प्रतिनिधि थिएरी म्याटहाउले नेतृत्व गरेका थिए । बैठकमा दुई मुलुकबीचको सम्बन्ध र सहकार्यबारे छलफल भएको थियो । मन्त्रालयका अनुसार दुई पक्षबीच आर्थिक सहकार्य, व्यापार, पर्यटन, लगानी र जनस्तरमा सम्बन्ध विस्तारबारे कुरा भएको थियो । फ्रान्सेली पक्षले नेपालमा लगानी गर्न आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, फ्रान्सले नेपालले अर्को वर्ष मनाउन लागेको नेपाल भ्रमण वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

समाचार

‘फोहोर व्यवस्थापन कानुन बनाऊ’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन र खानेपानी सरसफाइका लागि संघीय सरकारले रणनीतिसँगै कानुन बनाउनु आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन । राजधानीमा यससम्बन्धी तीनदिने कार्यशाला गोष्ठीको समापनमा शुक्रबार विज्ञहरूले उक्त कुरा औंल्याएका हुन् ।
सम्बन्धित विषयमा दुई दर्जन प्रस्तुति तथा छलफल गरी स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनका लागि १२ बुँदे प्रतिबद्धता पत्रसमेत जारी गरिएको छ । यस्तै संघीय सरकारले प्रविधि र उपकरणहरूको मापदण्डसहितको मार्गदर्शन तयार गर्ने र त्यसका आधारमा प्रदेश तथा स्थानीय तहले निर्देशिकाहरू तयार गरी कार्यान्वयनमा ल्याउनेसमेत प्रतिबद्घता पत्रमा उल्लेख छ ।

Page 4
वाग्मती प्रदेश

अझै कन्दमूलले प्राण धान्छन् चेपाङ

- प्रताप विष्ट
ताछेको गिठ्ठामा खरानी हाल्दै मकवानपुरको राक्सिराङ गाउँपालिका—७ धिराङस्थित चेपाङ परिवार । तस्बिर ः प्रताप/कान्तिपुर

(काँकडा, मकवानपुर) - मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ गाउँपालिका–७ धिराङस्थित भीमबहादुर चेपाङको परिवार वर्ष दिनमा नौ महिना जंगली कन्दमूलको भर पर्छ । उनको घरमा हिजोआज मकै, कोदो, चामललगायत खाद्यान्न छैन । ‘तिहार पर्व सकेलगत्तै खानेकुरा सकिएकाले जंगली कन्दमूलले प्राण धानिरहेका छौं,’ भीमबहादुरले भने, ‘तल्लो गाउँतिर कहिलेकाहीँ ज्यालामा काम गर्न पाइन्छ, काम पाएका बेलामा पिठो किनेर ल्याइन्छ ।’
यस क्षेत्रमा दिनभर काम गरेबापत चेपाङहरू सय रुपैयाँदेखि दुई सय रुपैयाँसम्म मात्र पाउँछन् । बिहानदेखि पसिना चुहाएर काम गरे पनि निकै कम ज्याला पाउने गरेको भीमबहादुरका २० वर्षीय छोरा श्यामले भने । ‘पाएको काम नगरे मुख फेर्न पाइँदैन, गर्‍यो त्यति ज्यालाले के गर्नु ? उनले निराशा पोखे । खाद्यान्न अभावले जंगली कन्दमूल खान बाध्य चेपाङहरू साहुले जति भन्यो त्यतिमै काम गर्न बाध्य छन् ।
ज्याला–मजदुरी नगरेका बेलामा बिहान–बेलुका उनीहरू गिठ्ठाभ्यागुर उसिनेर खाने गर्छन् । भीमबहादुरकी पत्नी विनुमायाले ११ सन्तान जन्माएकी थिइन् । तीमध्ये नौजना अझै छन् । दुई छोरा अलग बसेका छन् भने छोरीको बिहे भइसकेको छ । ६ जना छोराबुहारी, नातिनातिना गरेर भीमबहादुरको फुसको छाप्रोमा १८ जना बस्छन् । जाडो महिनामा आगो बालेर अँगेनाको चारैतिर उनीहरू सुत्छन् । ‘चेपाङको घरमा कोठा हुँदैन,’ भीमवहादुरले भने, ‘जाडोमा मुढा बालेर सुत्यो, गर्मीमा त जता लडे पनि भइगयो ।’
विनुमायाको १२ वर्षमा विवाह भएको हो । १४ वर्षको उमेरमा पहिलो छोरी जन्माइन् । तर, पाँच महिनामै झाडावान्ता भएर उनको मृत्यु भयो । जिल्लाको अत्यन्त विकट उक्त बस्तीमा सबैभन्दा ठूलो परिवार भीमबहादुरकै हो । यो परिवारको नाममा एक धुर जमिन छैन । गिठ्ठा तास्दै विनुमायाले चेपाङ भाषामा भनिन्, ‘ङि गरिब लेह’ (हामी गरिब छौं) ।
रामकुमार चेपाङ परिवारको हालत पनि उस्तै छ । भूकम्पले घर भत्काएपछि उनको परिवार गाउँकै शंखरे ओडारमा बसेको थियो । पछि सञ्चारकर्मीहरूको सहयोगमा छाप्रो बनाएर उनी ओडारबाट सरे । सात जनाको परिवार रहेको रामकुमारको घरभित्रको एउटा कुनामा गिठ्ठा र भ्यागुर थुपारेर राखिएको छ । ‘हाम्रो खानेकुरा नै यही हो,’ उनले भने, ‘जंगलमा गिठ्ठा भ्यागुर पाउन छोड्यो भने हामी भोकभोकै मर्छौं । भगवान्ले हाम्रै लागि गिठ्ठा फलाइदिनुभएको छ ।’
पूर्वपश्चिम राजमार्गको लोथर बजारबाट ९ घन्टा हिँडेर पुगिने धिराङका अधिकांश बासिन्दाको बाँच्ने आधार नै जंगली कन्दमूल हो । हिउँदमा गर्लिङसम्म हलुका सवारीसाधन चल्छन् । त्यहाँबाट धिराङ पुग्न साढे २ घन्टा हिँड्नुपर्छ । उनीहरूको खोरियामा कोदो र मकै त फल्छ तर मुस्किलले तीन महिना पनि खान पुग्दैन । धिराङ आधारभूत विद्यालयका प्रधानाध्यापक बाबुलाल तामाङ भन्छन्, ‘६ महिना पनि आफ्नो उत्पादनले खान पुग्ने एक परिवार पनि यहाँ छैन ।’
खाद्यान्न अभावले पहिले यस क्षेत्रका बालबालिका पढ्न जाँदैनथे । गाउँका अगुवा र शिक्षकको करबलले चेपाङ समुदायका बालबालिका भर्ना हुने गरे पनि उनीहरू बीचमै छाडिदिन्थे । अहिले भने सुधार देखिएको छ । गिठ्ठा खोज्न अभिभावकमात्र जान्छन्, छोराछारीलाई स्कुल पठाउँछन् । स्कुलमा दिवाखाजाको व्यवस्था गरिएपछि उनीहरूमा स्कुलप्रतिको आकर्षण बढेको प्रधानाध्यापक तामाङले बताए । दिगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले ६ वर्षदेखि उक्त स्कुलमा दिवाखाजाको व्यवस्था गरेको छ ।
धिराङ क्षेत्रमा सय घरधुरीभन्दा बढी चेपाङ समुदायको बसोबास छ । उक्त गाउँपालिकामा करिब एक हजार पाँच सय चेपाङ समुदायको घरधुरी छ । ‘अधिकांश चेपाङहरूमा खाद्यान्नको समस्या छ,’ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, ‘भिरालो जमिनमा बसोबास छ, खोरियामा खेती गर्छन्,’ उनले भने, ‘त्यही कारण दुरदराजका चेपाङलाई विकासको मूलधारमा ल्याउन समस्या परेको हो ।’ गाउँपालिकाले उनीहरूको जीवनस्तर उकास्न दुर्गममा मोटरबाटो पुर्‍याउने, छोराछोरीलाई पढ्ने वातावरण सिर्जना गर्ने र सीपमूलक तालिम दिएर आयआर्जन गर्न लगाउनेतर्फ गाउँपालिकाको ध्यान केन्द्रित रहेको अध्यक्ष मल्लले बताए । कैलाश गाउँपालिकामा बस्ने चेपाङहरूको अवस्था पनि राक्सिराङ, धिराङका चेपाङको भन्दा भिन्न छैन । उनीहरू कुनै पनि राजनीतिक परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । ‘चेपाङ समुदायको उत्थानका लागि हामीले केही योजना बनाएका छौं,’ कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर
मोक्तानले भने ।
०६८ को जनगणनाअनुसार मुलुकभर चेपाङको संख्या ६८ हजार ३ सय ९९ छ । चेपाङ अगुवाका अनुसार कुल जनसंख्याको ८० प्रतिशतसँग लालपुर्जा छैन । ६ पुस्तादेखि पुर्जा नपाउनेहरू छन् । चेपाङको बढी बसोबास चितवन, मकवानपुर, धादिङ, गोरखा र तनहुँमा छ । पूर्व संविधानसभा सदस्य गोविन्दराम चेपाङका अनुसार कुल जनसंख्यामा वर्ष दिनसम्म खान पुग्ने चेपाङ सात प्रतिशत छन् । नौ महिना पुग्ने २५ प्रतिशत, ६ महिना पुग्ने ४० र तीन महिना मात्र खान पुग्ने चेपाङ २८ प्रतिशत छन् ।

वाग्मती प्रदेश

ठेचो जात्रामा लः स्वाँ

- प्रशान्त माली
ललितपुरको ठेचोमा परम्परागत नवदुर्गा नाच प्रस्तुत गरिँदै । तस्बिर ः इलिट जोशी/कान्तिपुर

(ललितपुर) - नेवारहरूको जात्रापर्वसँग फूलको गहिरो सम्बन्ध हुन्छ । प्रत्येक जात्रामा देवीदेवतालाई छुट्टाछुट्टै फूल चढाइन्छ । अक्षयतृतीयामा जाईको फूल, गठेमंगलमा कमलको फूल र घटस्थापनामा जमरा । योमरी पूर्णिमाको अवसरमा नचाइने ठेचोको नवदुर्गा नाचका लागि भने लः स्वाँ (लौठ सल्ला) चढाउने गरिन्छ । नवदुर्गा नाच ठेचोका माली समुदायले सञ्चालन गर्छ । मालीबाहेक अन्य समुदायका व्यक्ति नाचमा सहभागी हुन पाउँदैनन् । फूल भने ठेचोभन्दा तल लाछी टोलस्थित महर्जन समुदायका मंका खलः (भजन समूह) ले चढाउने चलन छ ।
फूल चढाउन वन विभागबाट साताअघि स्वीकृति लिएर गोदावरी क्षेत्रबाट ठेचो ल्याइएको थियो । मंका खलःका गुरु दशलाल महर्जनका अनुसार लः स्वाँ रातो मत्स्येन्द्रनाथ, सेतो मत्स्येन्द्रनाथ, कीर्तिपुरको इन्द्रायणी देवी जात्रामा पनि अनिवार्य चढाउनुपर्छ । ‘अति दुर्लभ प्रजातिको यो फूल क्यान्सरजस्तो रोगको औषधि बनाउन प्रयोग गरिन्छ । कतिपय फूल किटाणु नष्ट गर्न, स्मरण शक्ति बढाउन, पाचनशक्ति बढाउन सेवन गरिन्छ,’ उनले भने, ‘कतिपय धूप बनाउन प्रयोग गरिन्छ ।’
जात्रामा शिरमा बेताली (पटुकाले बेरेर बनाइएको टोपी), निधारमा तिलक, शरीरमा द्यः अनि धुजी लः (विषेश प्रकारको लुगा) लगाएका थकालीहरू देखिन्छन् । नेवारी समाजमा यस्ता पोसाक लगाउनेलाई देवगणसरह मानिन्छ । ठेचोका ७६ वर्षीय रामगोविन्द मालीले यो पोसाक लगाउन थालेको ६ दशकभन्दा बढी भयो । बुढ्यौली उमेरमा पनि उनी ठेचो जात्रामा देवगणको भूमिकामा सक्रिय छन् । ६६ वर्षीय हेराबहादुर मालीले पनि नवदुर्गा नाचमा ब्रह्मायणी देवगणको भूमिका निर्वाह गरेको ५० वर्ष बित्यो । उनमा अझै जोसजाँगर उत्तिकै छ । नवदुर्गा गुठीमा ११ जना देवगण अपुग छन् । जात्रा लोप हुनबाट बचाउन ठेचोका सुर्जमान माली र रत्न मालीले चिराग समात्ने गुठीयारको जिम्मेवारी लिएका छन् ।
केही वर्षदेखि चिराग समाउने गुठीयार पनि छैनन् । नवदुर्गा नाच एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा, नाच प्रदर्शन गर्दा चिराग अनिवार्य बाल्नुपर्ने धार्मिक परम्परा छ । गुठीयार नभए पनि श्यामबहादुर माली, राजन, कविन, महेन्द्र, मनोज, बिकी, रोशन माली पोमी (देवता समात्ने व्यक्ति) को भूमिका निर्वाह गरेका थिए । गुठीमा बाराही, काली, कुमारी, ब्रह्मायणी, महालक्ष्मी, सिघिनी र ब्याघिनी समात्ने गुठीयार खाली छन् । गुठीयार अभावमा नाच सञ्चालन गर्न कठिनाइ भएपछि संस्कृति जोगाउन अग्रसर भएको उनीहरू बताउँछन् ।
नाचको उल्लास
योमरी पूर्णिमाकै अवसरमा मनाइने नवदुर्गा नाचसँगै माथिल्लो लाछी टोलस्थित बालकुमारी र तल्लो लाछी टोलस्थित ब्रह्मायणीको खटजात्रा हर्षोल्लासका साथ मनाइएको छ । जात्रा प्रत्येक वर्ष मार्ग शुक्लपक्ष चतुर्दशीदेखि चार दिनसम्म हुने गर्छ । जात्राको पहिलो दिन मंगलबार माथिल्लो लाछीमा चार वटा र तल्लो लाछीमा तीनवटा राँगा काटी आ–आफ्नो गुठीका देवतालाई बलिको प्रसादसहित पूजाआजा गरिएको थियो । नेपाल भाषामा यस दिनलाई ‘छोय्ला बुः’ भनिन्छ । शुक्रबार बिहान सबेरै नवदुर्गा मन्दिरबाट देवगणहरू पंक्तिबद्ध भई तल्लो लाछीस्थित मूल डबलीमा आई सामूहिक नृत्य गरेका थिए । नवदुर्गा गुठीका नाइके जितेन्द्र मालीका अनुसार यस नृत्यलाई नेवारीमा प्यपु द्यःल्हायेगु भनिन्छ । बेलुका नवदुर्गा भवानी देवी गुठीले बलिसहित पूजाआजा गरेपछि कालीको नृत्य प्रस्तुत गरिएको थियो । यस दिनलाई ठेचोवासीले न्हि प्यांख भन्छन् । अर्को मुख्य आकर्षण गुः (गुठी) द्यः (देवता) हुन् । गुठीयारहरूको मृत्यु र जात्राको समयमा बाहिर ल्याइने गुः द्यः जात्रामा बेलुका पालाको घरमा विधिपूर्वक गुठीमा भित्र्याइन्छ । गुः द्यः भित्र्याउने समयमा पाला घरकी थकाली नकीं (थकाली महिला) को मुख्य भूमिका हुने नाइके मालीले बताए । ‘यसदिन उपवास बस्ने, देवता घरमा भित्र्याएदेखि पूजाआजा गर्ने, देवतालाई दैनिक घरमा पकाएको बिहानको भात चढाउने इत्यादि कार्य एक वर्षसम्म थकाली नकींले गर्ने गर्दछन् ।’
गुः द्यः भित्र्याउँदा काः (इन्द्र बाजा) अनिवार्य बजाउनुपर्ने मान्यता छ । नेवारी समुदायमा काः बाजा जात्रा पर्व र मानिसको मृत्यु हुँदाबाहेक अन्य समयमा बजाउन नहुने मान्यता छ । अन्तिम दिन शनिबार बिहान गणेश देवतालाई पालो थाप्नेको घरमा र भैरवलाई धुमधामसँग सिन्दुर जात्रा गरी पुखुसी टोल पुर्‍याइन्छ । जात्रामा तल्लो लाछीका मुख्य तीन र माथिल्लो लाछीका सात गुठी प्रत्यक्ष संलग्न हुन्छन् । गोदावरी नगरपालिका–१२ ठेचोका वडाध्यक्ष जगतबहादुर महर्जनले लोपन्मुख बन्दै गएको सांस्कृतिक सम्पदा जोगाउन स्थानीय सरकार सञ्चालन ऐनमा तेकेर नीतिगत व्यवस्था गर्ने योजना रहेको बताए । ‘वडा प्रोफाइल बनाउन बजेट विनियोजित गरेका छौं,’ उनले भने ।

वाग्मती प्रदेश

उच्च पहाडमा हिमपात

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रदेश ३ का विभिन्न जिल्लाको उच्च पहाडी क्षेत्रमा शुक्रबारदेखि हिमपात सुरु भएको छ । दोलखाको कालिञ्चोक, रसुवाको लाङटाङ, रामेछापको गुप्तेश्वर क्षेत्र र काठमाडौंको चन्द्रागिरि डाँडामा हिउँ परेको छ । यस वर्षको जाडो मौसममा पहिलोपटक हिमपात सुरु भएको हो । हिमपातपछि दुई हजार मिटरभन्दा माथि दोलखा सदरमुकाम चरिकोटलगायतका क्षेत्रमा चिसो बढेको छ । सिमसिम पानी परिरहेकाले जनजीवन कठिन बन्दै छ । यसैगरी, रसुवाको उच्च हिमाली भूभागमा पनि हिमपात भएको छ । पर्यटकीय क्षेत्र लाङटाङमा हिमपात भइरहेको वडाध्यक्ष सुप्पा तामाङले बताए । जिल्लाको उत्तरी भेग लाङटाङ, क्याङ्जिन, गोसाइँकुण्ड, धुन्चेको लेक, चोलाङपाटी, लौरीबिना, चन्दनबारीलगायत ठाउँमा हिमपात भइरहेको हो ।
रामेछापको उमाकुण्ड गाउँपालिकास्थित गुम्देल, वाम्ती, कुभुकास्थली, प्रिती र गुप्तेश्वर क्षेत्रमा बाक्लो हिमपात भएको छ । गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र बेतालीको माथिल्लो भेगमा हिउँ परेको छ । दोरम्बा गाउँपालिकामा पर्ने शैलुङमा तीन फिटसम्म हिउँ जमेको स्थानीय दावाशङ्बु शेर्पाले बताए । डडुवा र गौश्वारामा बाक्लो हिउँले जनजीवन कष्टकर छ । शैलुङ र वाम्तीतर्फका सडकमा यातायात साधन अवरुद्ध भएका छन् । पानी पर्ने क्रम रोकिएको छैन ।

वाग्मती प्रदेश

थाहामा तीनवर्षे मेला

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणीमाई मन्दिरमा बिहीबारदेखि तीनवर्षे मेला सुरु भएको छ । हरेक तीन वर्षमा लाग्ने मेला करिब चार सय वर्षअघिदेखि सुरु भएको हो । पालुङका नेवार समुदायले चौरमा रथ ल्याएपछि जात्रा सुरु हुन्छ । पहिलो दिन पालुङका नेवार समुदायले देवतासहित तीनवटा रथ बोकेर ल्याउँछन् । रातभर मन्दिरमा बलिसहित पूजा हुन्छ । राति नै पञ्चबलि पनि दिइन्छ । दोस्रो दिन उक्त क्षेत्रका अधिकांश बासिन्दाले बोका, भाले र राँगाको बलि चढाउँछन् । तेस्रो दिन रथ फिर्ता लगेपछि मेला सकिन्छ । नगरपालिकाले मेला सञ्चालन गर्न दुई लाख रुपैयाँ उपलब्ध गराएको स्थानीय श्याम श्रेष्ठले बताए । इन्द्रायणीमाई भगवती कालाभैरव गुठी संरक्षण समितिको व्यवस्थापनमा जात्रा सञ्चालन हुन्छ ।

वाग्मती प्रदेश

वडाध्यक्षलाई पक्राउ पुर्जी

- कान्तिपुर संवाददाता

नुवाकोट (कास)– क्षेत्राधिकार मिचेर रुख कटान गरी बिक्री गरेको आरोपमा वडाध्यक्षसहित तीन जनालाई वन डिभिजन कार्यालय नुवाकोटले पक्राउ पुर्जी जारी गरेको छ । सडक निर्माण गर्ने क्रममा सालको रुख कटान गरी बिक्री गर्न खोजेको आरोपमा बेलकोटगढी नगरपालिका–१२ का वडाध्यक्ष डिल्लीराम सिलवाल, भृकुटी कटुवा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष भरत सिलवाल र काठ खरिद गर्ने किसन चित्रकारलाई पक्राउ पुर्जी जारी गरेको कार्यालयका अनुसन्धान अधिकृत मधुकुमार न्यौपानेले बताए । वडा कार्यालयले साल र साझ (असना) रुखका काठ बिक्रीका लागि गत कात्तिक ३ गते लिलामी सूचना निकालेको थियो । चित्रकारले ३ लाख ७६ हजार रुपैयाँमा लिलामी सकारेका थिए । पक्राउ पुर्जी जारी भए पनि तीनैजना पक्राउ परेका छैनन् ।

वाग्मती प्रदेश

कुमारीलाई मासिक १५ हजार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौं महानगरपालिकाले दुई जीवित देवी कुमारीलाई मासिक १५ हजार रुपैयाँका दरले भत्ता दिने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेयर विद्यासुन्दर शाक्यले हनुमानढोकामा रहेकी कुमारीलाई मात्र भत्ता दिइरहेकोमा यस वर्षबाट मखन र किलागल टोलमा रहेका कुमारीलाई पनि उपलब्ध गराइने बताए । 

वाग्मती प्रदेश

प्रहरी परिवारलाई आवास

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– मध्यपुर थिमि नगरपालिका–६ कुन्डोलमा प्रहरी परिवार आवासगृह बन्ने भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा समुदाय प्रहरी साझेदारीअन्तर्गत पहिलो चरणमा महानगरीय प्रहरी वृत्त थिमिमा कार्यरत प्रहरीका १० परिवारले आवास पाउने वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए । उक्त आवासगृह निर्माणका लागि बिहीबार नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अन्जनादेवी मधिकर्मी, भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानलगायतले शिलान्यास गरे । नगरपालिकाले प्रहरी परिवार आवासगृहका लागि करिब आठ आना जग्गा र एक करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । उक्त आवासगृह प्रहरी संगठनका हवल्दार, सिपाही तहका परिवारका लागि बनाउन लागेको वृत्त प्रमुख कोइरालाले बताए ।

वाग्मती प्रदेश

मन्दिर पुनर्निर्माणमा एक करोड हस्तान्तरण

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ललितपुरको पाटनस्थित भीमसेन मन्दिरको पुनर्निर्माण गर्न ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ । ०७२ सालको भूकम्पले क्षति भएको मन्दिर मर्मत–सम्भार गर्न शुक्रबार महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्यालले मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई चेक हस्तान्तरण गरे । मन्दिरको करिब ८० प्रतिशत भाग भत्काइसकेको सरोकार समितिका अध्यक्ष महर्जनले बताए । ‘मन्दिरका पुराना सामानलाई संरक्षण गरी प्रयोग गरिन्छ,’ उनले भने । मन्दिरमा भएका सामानहरूको अभिलेखीकरण गर्दै भत्काउँदा ढिलाइ भएको उनले बताए । पुनर्निर्माण गर्न सुनलेपन कार्यबाहेक ४ करोड ९३ लाख लागत अनुमान गरिएको छ । 

Page 5
Page 6
विविधा

दुर्घटनापछिको स्वास्थ्य

- डा. प्रकाश बुढाथोकी

सडक दुर्घटनाले विकराल रूप लिँदैछ । यात्राको क्रममा दिनहुँ धेरैले ज्यान गुमाइरहेका छन् । दुर्घटनामा परेर घटनास्थलमै बित्ने त बितिहाले, सख्त घाइतेहरूले पनि तत्काल उपचार नपाउँदा मर्नुपर्ने स्थिति छ ।
अन्तर्राष्ट्रिय मान्यता अनुसार मुख्य राजमार्गमा हरेक ३० किमिमा अर्थात् ३० मिनेटमा तालिम प्राप्त चिकित्सकसहितको राजमार्ग द्रुत उद्धार सेवा हुनुपर्छ । दुघर्टनाको चोट, मानसिक तनाव र शारीरिक असरले गर्दा ठूला एवं मध्यम चोटमा बिरामीको अवस्था अस्पताल लैजाँदा र पुर्‍याइसकेपछि पनि जाँचपड्ताल र अपरेसनको पूर्वतयारी गर्न समय लाग्दा औषधि र रगतसमेत बढी चाहिने बेलामा
बिरामीको शरीरमा थप गम्भीर असर पर्न जान्छ । ठाउँ–ठाउँमा दुर्घटना अस्पताल नभएकोले दुर्घटनापछि घाइतेले चाँडै उपचार पाउन नसकी मृत्यु बढेको छ ।
अधिक रक्तस्राव, श्वासनली थुनिएर, टाउकाको गम्भीर चोट भई गिदी फाटेर, गर्धनको सुषुम्ना, नाडी चुँडिएर दुर्घटनाको केही मिनेटमै प्रायःजसोको ज्यान जाने गर्छ । नाक, मुख र घाँटीमा रगत जमेको मात्र छ भने श्वासनलीलाई सफा गरी घाइतेलाई बचाउन सम्भव हुन्छ । बाहिरी रक्तस्रावलाई साधारण शल्यक्रिया गरी कडा पट्टी बाँधेर रोकथाम गर्न सकिन्छ । घटनाको १०–१५ मिनेटसम्म बाँचेकालाई श्वास–प्रश्वास नली रक्षा गरी रक्तस्राव रोकेर बचाउन प्रयास गरे गम्भीर खालको भित्री चोट भएकालाई बाहेक बाहिरी चोट भएकालाई बचाउन सकिन्छ । दुर्घटनामा परि शरीरको भित्री भागमा
रक्तस्राव भएकालाई ‘मेजर अपरेसन’ गरेर मात्रै बचाउन सकिन्छ । टाउकाभित्र रगत जमेको, पेटमा साना रक्तनली, फियो र कलेजो एवं पेट र आन्द्रामा चोट लागी रक्तस्राव भएकालाई तुरुन्तै अपरेसन गरे जीवन जोगिन्छ ।
समयमा उपचारको प्रबन्ध गर्न सक्ने हो भने दुर्घटनापछि ठूला हाड भाँचिएका र अधिक रक्तस्राव भएकाहरूलाई घाउको संक्रमणबाट बचाएर जीवन जोगाउन सकिन्छ । चोटपटक वा दुर्घटनाबाट बाहिर निस्केका वा हल्लेका दाँतलाई तुरुन्तै दाँतको घरमा स्थिर बनाई राख्नसके जीवनभरका लागि मुखमै प्राकृतिक दाँत रहन सक्छ । दाँत मुख बाहिर नै निस्केमा पनि सामान्य सलाइन पानीमा राखी अस्पतालमा ल्याइपुर्‍याए सोही दाँत सोही स्थान र अवस्थामा मुखभित्र रोप्न सकिन्छ ।
दुर्घटना स्थलमा उद्धारको क्रममा लड्ने तथा दुर्घटनाका समयमा हातखुट्टा चल्ने वा रिकभर गर्न सकिने हुँदा पनि सामान्य सावधानीको अभावमा झ्याइँकुटी पार्दै बोरा फालेजस्तै एम्बुलेन्स, गाडीमा राख्दा घाइतेको चोट झनै बल्झी अवस्था थप बिग्री घाइते बाँचे पनि जीवनभर ओछ्यान पर्नुपर्ने अवस्था आउने गरेको छ । तसर्थ घाइतेको गर्धन, घाँटी, शरीर, खुट्टालाई हलचल नहुनेगरी सन्तुलित रूपमा उद्धार गरी सावधानीपूर्वक अस्पताल ल्याइएमा धेरैलाई पूर्ववत् अवस्थामै फर्काउन सकिन्छ ।
सडक सुरक्षा सुधार्न सडकको पूर्वाधारमा सुधार आवश्यक छ । सवारी साधनको अवस्था कस्तो छ भनी उच्च प्राविधिक जाँच निकै आवश्यक हुन्छ । हामीसित दुर्घटनामा कमी ल्याउने कानुन नभएका होइनन्, छन् । तर ती कानुनको कडा परिपालना हुन सकिरहेको छैन । राज्यले यसमा कडाइ गर्नुपर्छ । सडक प्रयोगकर्ता चालक, साइकलयात्री र पदयात्रीको अनुशासन र आपत्कालीन उपचार लगायतका विषयमा ध्यान पुर्‍याउन जरुरी छ ।
विकसित मुलुकहरूमा झैँ ‘रोड सेफ्टी अडिट’ पनि आवश्यक हुन्छ । हरेक दिन, महिना, घन्टा नै सडक सुरक्षाबारे सोच्ने एउटा निकायको खाँचो छ । त्यसका लागि सडक बोर्ड बनाउनसके जाती हुन्छ । सडकको सुरक्षा हाम्रो पनि सुरक्षा हो । तसर्थ जबसम्म सडक सुरक्षित हुँदैन, तबसम्म हामी पनि सुरक्षित छैनौं भन्ने सबै सरोकारवालाले मनन गर्नु जरुरी छ ।
बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सहकोषाध्यक्ष हुन् ।

विविधा

लोकवार्ता, साग र सिर्जना

समय रेखा
- अभि सुवेदी

नेपाली लोकवार्ता तथा संस्कृति समाजको आयोजनामा सातौं अन्तर्राष्ट्रिय लोकवार्ता कङ्ग्रेस २७(२९ मङ्सिर २०७६ मा काठमाडौं चलिरहेको सन्दर्भले एकाध कुराको फेरि बोध भएको छ । फर्केर हेर्दा २०५१ सालमा हामीले खोलेको यो समाज चलेर आइराखेको नै लोक ‘न्यारेटिभ’ भइसकेछ । यो लोकवार्ता समाज तथाकथित मूल प्रवाह बाहिर चल्यो । अर्जुन अप्पादुराईले ‘फियर अफ् स्मल नम्बर’ (सन् २००६) मा भनेजस्तै यो ‘सेलुलर इनर्जी’ वा मूलधार बाहिरको संस्थाको शक्तिका रूपमा चल्यो । त्यसो त हामीमात्रै चलिआएका होइनौं । हामीजस्ता अरु पनि ‘सेलुलर’ शक्ति लिएर संस्था चलिआएका छन् । यो खुलेको बेलादेखि नै हो, नेपालमा लोकतान्त्रिक परिवर्तन कहिले चक्रवात, कहिले उपलब्धि अनि कहिले व्यर्थका कोलाहल हुँदै आएको हो । माओवादी युद्ध चल्यो, यो खुलेको २ वर्षपछि । सबैतिर विचलन, सतर्कता, हत्या र अपहरणका कथाहरू आइबसे । हामीले लोकवार्तालाई माओवादीदेखि सरकारका मानिसहरूसम्म यो सबैले बुझ्नु र रक्षा अनि प्रबर्द्धन गर्नुपर्ने संस्था हो भन्न छाडेनौं । फ्रान्सेली अध्येता मेरी लुई लकोँतले सुदूर पश्चिमको दलितहरूको घुट्के लोक प्रस्तुतिलाई माआवादीले कसरी आफ्नो आन्दोलनको सिलसिलामा प्रयोग गरे भन्ने आफ्नो अल्मोरामा छापिएको किताबमा लेखिन् । उनीहरूले छवि चित्र पनि बनाए । अर्को अर्थमा लोकवार्ता र यसको प्रयोग अनेकौं किसिमले भयो । सरकारमा हुनेहरूले पनि संस्कृतिको एउटा काम भनेर गरे । कसैलाई आलोचना गर्नु छैन । एकेडेमीहरूले पनि एकाध प्रकाशन गरे । विश्वविद्यालयका एकाध पाठमा लोकवार्ता राखे । स्वतन्त्र काम गरेर
आफ्ना साहित्य विभागमा केही लोकवार्ताका पाठहरू पनि राखे कतिले । क्रम जारी छ ।
यी सबै चक्रवातका वर्षहरूमा लोकवार्ता समाजका अध्यक्ष कवि तुलसी दिवस र महामन्त्री डा. चूडामणि बन्धु एक–एकवटा तेर्सा झोला झुन्ड्याएर सरकार र संस्थाहरूका घरदलानमा पुगेर सहायता माग्दै यसका सम्मेलन गर्ने क्रममा लागिरहे । म पनि त्यसमा छु, तर म झोला पछाडि भिर्ने हुनाले उनीहरूसँग हिँडिन । यसरी सहयोग माग्दा यी दुई लोकवार्तारथिहरूको शैली फरक हुन्थ्यो । बन्धु अलिक सरल र सूक्ष्म किसिमले कुरा राख्थे । दिवस हकारेजस्तो गरेर नदिइनहुने गरी माग्थे । धेरै माग्दैनथे । एकाध सेसनमा चमेनाको व्यवस्था, एउटा दिउँसो सहभागीलाई भोजन, एउटा जोगीको जस्तो सानो झोला सिलाउने, एउटा नेपाली कागत नामको लुते फायल बनाउने खर्च माग्थे । म आन्तरिक मानिस भएकोले जान्दछु । यी दुईलाई भारत, बंगलादेश, पाकिस्तान आदि देशका लोकवार्ता समाज र विश्वविद्यालयले बोलाइबस्थे । यिनीहरू जान्थे । अझै जान्छन् । दिवस युरोप र एसियाका निकै देशमा गएका छन् । लोकवार्ताका संस्था र मानिससँग यिनको परिचय भएकोले ती अहिले पनि हाम्रा लोकवार्ता कङ्ग्रेसमा आउँछन् । यस्तै सम्पर्कको सिलसिलामा केही वर्ष पहिले फिनल्यान्डको राजदूतावासबाट केही लोक समूहहरूको अध्ययन गर्नलाई सम्झौता गरेर केही आर्थिक सहयोग पायौं । समूहहरू बनाएर गोपाली, आठपहरिया राई, दनुवार, थारु, मेचे र गन्धर्वका लोकजीवन शैली, चलन र संगीतका अध्ययन गर्‍यौं । प्रत्येकका किताब र क्यासेटहरू पनि बनायौं । खासै बिक्री गर्न जानिएन । ती प्रोजेक्ट सकेपछि केही पैसा उब्रियो । कुनै धेरै पैसा उब्रिएको त होइन, तर अब यसले एउटा लोकवार्ता अध्ययन कार्यक्रम चलाउने हो भनेर लाग्यौं । तर दूतावासले थाहा पाएछ । त्यो उब्रिएको पैसा ल्याओ भनेर लग्यो । पैसा फिर्ता गरेपछि लोकवार्ता समाजको कार्यकारी मिटिङले यो पैसाले अर्को अध्ययन गरेको भए हुने थियो, गरेनौं भनेर ठोकेर आत्मालोचना सहितको प्रस्ताव पास गर्‍यो ।
लोकवार्ता समाजमा रुद्रलक्ष्मी श्रेष्ठ लगायत १०/११ जना छौँ, तर थोरैले खटिएर काम गर्ने लोकपरम्परा छ, यसमा । पछिल्लो समय एउटा साना काँटीका एकेडेमिक र भाषाशास्त्री भीमनारायण रेग्मी यसका सचिव भए । यी अहिले नेपाली भाषाशास्त्र समाजका अध्यक्ष पनि हुन् । यिनले लगभग एक्लै नेपाली फोकलोरको आन्तरिक सञ्चालन कर्म गर्ने
गरेका छन् । आफ्ना कार्यपत्रको निम्ति उनले छानेका विषयहरू सर्वथा नौला हुन्छन् ।
यो लोकवार्ता समाजका यसरी गरिएका सेमिनारहरूमा नेपालका कुनै सम्बन्धित संस्थाले सम्बोधन नगरेका विषयहरू आउँछन् । मूलरूपमा लोकवार्ता एउटा गतिशील विषय भएको हुनाले यसमा आएका परिवर्तनहरू सबै समावेश गरेर यसका विषय छान्ने हो । अनि तीमाथि देश र विदेशबाट सहभागीहरूले कार्यपत्र प्रस्तुत गर्छन् र सहभागी हुन्छन् । फोकलोरका विषयहरूका विस्तार हुँदैछन् । जर्मन समाजशास्त्री युर्गेन हेबरमासले भनेजस्तै फोकलोरको आमवृत्त वा ‘पब्लिक स्फेयर’ बढिरहेको छ । त्यो दिनदिनै महत्त्वपूर्ण हुँदैछ । अहिले साहित्य अध्ययनमा पनि ‘एन्थ्रापोसेन’ वा भूप्रकृति र मानिस जनिन विषयको प्रयोग हुँदैछ । एक्काइसौं शताब्दीको त्यो चिन्तन हो । अहिले पृथ्वी माता ठूलो कष्टमा परेकी छन् । भूक्षय, जातिहरूको बिचल्ली र निर्वासन, बालबालिकाको वर्णन गर्न नसकिने शोषण र हत्या, युद्धपिपासु र अन्धशक्तिले उन्मत्त नेताहरूको उदय र तिनका नीतिले ल्याएका ठूला संकट छन् । यी सबै कुराले लोकजीवन र वार्ताहरूमा ठूलो असर परेको छ ।
तर फोकलोर अविनाशी विषय हो, किनभने यो मानिसको भित्री सिर्जनशील शक्तिसँग जोडिएको छ । मानिसको ऊर्जा मिथकको फिनिक्स पंक्षीजस्तो खरानी भएर थुप्रो लागे पनि त्यहीँबाट फेरि पानी हुँदै अनि नाद भएर उही आकारमा उठ्छ । मानिसको यही शक्ति फोकलोरको अन्तर्यमा रहेको छ । यसपालिको फोकलोर कङ्ग्रेसले ‘यो सम्मेलन पनि पहिलेका सम्मेलनहरूझैँ लोकवार्ता, संस्कृति, लोकसाहित्य, समाजशास्त्र, मानवशास्त्र, सङ्गीतशास्त्र, भाषाविज्ञान, पर्यटन, इतिहास, भूगोल, कम्प्युटर विज्ञान, इन्जिनियरिङ जस्ता विभिन्न विधासँग सम्बन्धित शिक्षक, विद्यार्थी, अनुसन्धाता तथा अमूर्त सांस्कृतिक सम्पदाका प्रयोगकर्ता तथा संवाहकहरूको आफ्ना अनुसन्धान, प्रयोग, र
वैशिष्ट्यहरूबारे मन्थन गर्ने साझा मञ्च हुनेछ’ भनेर जानकारी दिनुको अन्तर्य त्यही हो ।
नेपालमा लोकवार्ताको अन्तर्यमा रहेको शक्ति यहाँका नरनारी, बालबालिकामा छ भन्ने बुझ्न सक्यौं भने हामीले यसको आन्तरिक गतिशीलतालाई बुझ्छौं । नेपालमा दिनदिनै प्रशासन, सरकार राजनीतिक दलहरू यो लोकवार्ताले प्रतिनिधित्व गरेको शक्तिबाट टाढा हुँदै गएका कैयौं बलिया उदाहरणहरू हामी देख्न सक्छौँ । सिधै नदेखिने तर अन्तर्यमा अत्यन्त प्रभावकारी किसिमले प्रयोग भएका केही विषयलाई हेर्‍यौं भने त्यो प्रस्ट देख्न सकिन्छ । धेरै उदाहरण लिने ठाउँ नभएकोले अहिले भर्खरै सम्पन्न दक्षिण एसियाली देशहरूको खेल वा सागको उदाहरण लिन सक्छौँ । ५१ स्वर्ण पदक र १ सय ९८ अन्य पदक जित्ने नेपाली खेलाडीहरूको सामर्थ्य तिनको निजी सिर्जनशील सामर्थ्य हो । विशद परिस्थितिमा पनि सिर्जनशील नेपाली नरनारी र तिनले बाँचेको लोकजीवन र लयको शक्ति हो त्यो ।
हाम्रा जीवनमा यो विषय अत्यन्त महत्त्वपूर्ण छ । किनकि साधारण नेपाली जनमा रहेको सिर्जनशीलतालाई आफ्नै धुन र आसेपासे पुँजीवादी प्रपञ्चमा व्यस्त सरकार र राजनीतिक दलहरूले बुझ्न नसक्नु एउटा यथार्थ भएको छ । यो अवस्थाले गर्दा खेलाडीहरूसँग नपुगी, तिनका सुख–दुःख, तालिमसम्म नपुगी, तिनलाई खाने भोजन उपलब्ध छ कि छैन, ती कहाँ बस्छन् आदि कुनै कुराको चिन्ता नलिई, तिनले खेलाडीहरूका सिर्जना एकाएक प्रकट भएर त्यति उत्कृष्ट खेलमा प्रदर्शन गरेको हेरेर मखलेल हुने बाहेक उनीहरूले अरु खासै केही गर्नसकेको देखिएन । द काठमाडौं पोष्ट (२६ मङ्सिर २०७६) मा ‘सागमा सरकार होइन, नेपाली खेलाडीले जितेका हुन् स्वर्ण’, दीपक थापाको लेखमा केही खेलाडी र तिनका सिर्जनशीलनता अनि तिनका पीडाका उदाहरण दिएका छन् । उत्कृष्ट खेल खेलेर मेडल जितेका सोनी गुरुङ, कमलबहादुर अधिकारी, काजल श्रेष्ठ, तुलसा खत्री, निमा घर्ती, राजेश मगर, संगीता धामी, संजु चौधरीजस्ता खेलाडीका उल्हाद र विरहका विशेष कथा छन्, यस लेखमा जसबाट हामी लोकवार्ता र शक्ति संरचनाको सम्बन्ध बुझ्न सक्छौं । गौरिका सिंहसहित सबै मेडल जित्नेहरूमा एउटा साझा चरित्र देखियो, त्यो हो सिर्जनशीलता । आफैं आफ्ना अठोट र सिर्जनालाई प्रयोग गरेर खेल्ने तिनीहरू नेपाली नरनारीहरूमा रहेको प्रतिभा र सिर्जनाका प्रतीक हुन् । छोटो समयमा साग आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद र यसलाई सफल पार्न सहयोग गर्ने र संलग्न सबै बधाईका पात्र हुन् र तिनका आफ्नै कथा होलान् ।
आज फोकलोरमाथिका छलफल, अध्ययन र सहभागिताले माथि भनिएका प्रकट हुन खोजिरहेका सरल र सिर्जनशील कालिक चेतनालाई प्रतिनिधित्व गर्छ । नेपालका लोकसंस्कृति, चलन, कला, संस्कृति र साहित्यका बहुल चरित्र छन् । ती अत्यन्त सिर्जनशील र जीवनमुखी छन् । मानिसहरूले विभिन्न कालमा लोकचेतनाका प्रयोग गरिआएका छन् । अहिले दार्शनिक र साहित्यिक चिन्तनमा सरलता, सिर्जनशील लोकचेतनाका प्रयोग हुनलागेका छन् । जलवायु परिवर्तन र संकट विषयका छलफलहरूले उद्घाटन गर्ने विषय लोकवार्ता नै हो । नेपालको सन्दर्भमा भन्दा नेपालका लोकचलन, संस्कृति र जीवनशैलीमा परिवर्तन आएका छन् । अहिलेको नेपालको सन्दर्भमा लोकवार्ता र सरल जीवनको सिर्जनशील पक्षको पहिचान सबभन्दा आवश्यक विषय हो ।

विविधा

गोलमटोल गणित सिकाइ

- दीपक बस्याल

साहित्यकार बालकृष्ण समले कुनै बेला भनेका थिए, ‘दार्जिलिङमा आज जे सोचिन्छ, नेपालमा त्यो भोलि सोचिन्छ ।’
यो भनाइ खासमा नेपाल र दार्जिलिङले नेपाली साहित्यमा गरेको योगदानसँग सान्दर्भिक भएर आएको हो ।
सन् १९४० को दशकमा दार्जिलिङका नेपालीभाषीका लागि गणितको किताब लेख्दै गर्दा पारसमणि प्रधान र नरेन्द्रमणि प्रधानले लेखेको तलका हरफहरूले समको भनाइलाई थप मलजल गर्छ ।
‘हाम्रा नेपाली भाषा पढ्ने विद्यार्थीहरू हिसाबमा सारै कमजोर हुन्छन् । गणितका गुरुहरूले गणित विधाका उपकारिता र आवश्यकतामा रुचि उत्पन्न गराइदिए ती विद्यार्थीहरू स्वभावले नै गणितमा मन लाउने हुन्छन् । आफूमाथि आइलागेको अवगालबाट बच्ने हो भने गुरुहरूले गणित ठिक तरिकाले पढाउनैपर्छ ।’
यहाँ उल्लेख गर्न खोजिएको मुख्य कुरा के हो भने हामीकहाँ गणितको पुस्तक लेखिनुपर्छ है भन्ने चेतना जाग्दै गर्दा दार्जिलिङमा प्रधानहरूले गणितको पुस्तक गतिलो लेखिनुपर्छ र गतिलो तरिकाले पढाउनुपर्छ भन्नेमा जोड दिइराखेका थिए ।
बीसौं शताब्दीको सुरुमै चर्चित शिक्षाविद् जन डीबीले भनेका थिए, ‘यदि हामीले आजका विद्यार्थीलाई हिजोको तरिकाले पढायौँ भने उनीहरूको भोलि लुटिरहेको हुनेछौँ ।’ आज हामीले हाम्रा विद्यार्थीलाई भविष्य बनाउने दिशामा हाम्रो शिक्षा नीतिलाई लगेका छौं कि उनीहरूको भविष्यलाई गोलमटोल पार्ने बाटोमा लागेका छौँ, यसको चर्चा सान्दर्भिक हुने नै छ । प्रायः देशहरूको औपचारिक शिक्षा प्रक्रियालाई मुख्यतया तीन भागमा बाँडिएको हुन्छ ।
पहिलो, देशमा के, किन, कसरी पढ्ने/पढाउने भन्ने निर्देश गर्न भनेर राष्ट्रिय पाठ्यक्रम लेखिएको हुन्छ । जुन लागू गर्न खोजिएको
पाठ्यक्रम भयो । दोस्रो, कक्षाकोठाको सिकाइ, जहाँ शिक्षक र विद्यार्थीहरूको सहभागितामा पाठ्यक्रमको निर्देशन अनुरुप कार्यसम्पादन गर्ने गरिन्छ । जुन लागू गरिएको पाठ्यक्रम भयो । तेस्रो, पाठ्यक्रमले चाहे अनुरुपको सिकाइ भए/नभएको निर्क्योल गर्न परीक्षा प्रणाली बनाइएको हुन्छ । चक्र यही हो । चक्र एकै भए पनि फरक–फरक देशमा फरक–फरक शैलीको पाठ्यक्रम, पाठ्य–पुस्तक र परीक्षा प्रणाली हुने गर्छ । अहिले यतिमात्र भनौँ कि गतिलो सिकाइ हुन यो चक्रको तीनैवटा कुराको राम्रो संयोजन हुनु जरुरी छ ।
किन, केका लागि पढ्ने र पढाउने भन्ने कुराकै निर्क्योल गर्न सकिएन भने पढेर उपलब्धि भयो कि भएन भनेर परीक्षण गर्न कठिन हुन्छ । पढाउनेले के उद्देश्य प्राप्तिका लागि पढाउने भन्ने कुरा नै थाहा पाएन भने पढाउने तरिका कसरी प्रभावकारी हुन्छ भनेर सोच्नुको खासै अर्थ भएन । केका लागि, किन पढाइँदैछ भन्ने कुरा पाठ्य–पुस्तक लेखकलाई थाहा भएन भने कसरी पुस्तक लेखिँदा त्यो उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने कुरा थाहा हुने भएन । अनि यस्तै थाहा नभई–नभई र थाहा नपाई–नपाई समग्र देशको शिक्षा प्रणाली चल्ने भयो । हाम्रोमा स्थिति लगभग–लगभग यही हो ।
कसरी थाहा हुन्छ त शिक्षाले देशलाई दिनुपर्ने के हो ? नीति निर्माताले नीतिमा के लेख्ने ? पुस्तकमा लेखकले के, कति लेख्ने र कसरी प्रस्तुत गर्ने ? शिक्षकले कसरी र किन पढाउने ? विद्यार्थीले किन र कसरी पढ्ने ? अभिभावकले आफ्ना सन्तानले पढेको कसरी र कुन कुराले उनीहरूको जीवन र समग्र समाजको प्रगतिको लागि काम लाग्छ भनी बुझ्ने ? लगभग यी सबै प्रश्नको उत्तर दिने भनेको अनुसन्धानले नै हो । हरेक तहमा अनुसन्धानका लागि अनेकौं प्रश्नहरू हुन्छन् । यी प्रश्नको उत्तर आजको आजै दिन मिल्नेगरी सहज हुँदैन र एउटा मात्रै उत्तर आउने भन्ने पनि हुँदैन । लामो अनुसन्धानात्मक परीक्षणपश्चात आएको सम्भावित नतिजालाई प्रयोगमा ल्याउने र त्यसको प्रभाव निरन्तर चेकजाँच गर्ने काम यही चक्र चलाउने
कर्मभित्र पर्छ ।
प्रविधिमा भएको द्रुत विकासले अहिले कसरी कामका प्रकृतिहरू फेरिएका छन् र उक्त कामका लागि योग्यहरू उत्पादन गरिएन भने भोलि लाखौँ, करोडौँ बेरोजगार र बेघरबार हुने चेतावनी विश्व बैंकको भर्खरै प्रकाशित रिपोर्ट ‘द चेन्जिङ नेचर अफ वर्क’ (२०१९) मा चर्चा गरिएको छ । आजको बजारको माग सम्बोधन गर्न गहन र नवीन सोच गर्न सक्ने, समूहमा काम गर्न सक्ने, सूचनाको सही विश्लेषण गर्न सक्ने चिन्तनशील र सिर्जनशील विद्यार्थीको उत्पादन आजको आवश्यकता हो भनेर उक्त रिपोर्टमा प्रकाश पारिएको छ ।
अलिकति अब हाम्रो पछिल्लो अनुसन्धानमा आधारित अनुभवको कुरा गरौं । हाम्रा कक्षा ४–१० मा पढाउने गणित पाठ्य–पुस्तकमा विद्यार्थीलाई चिन्तनशील, सिर्जनशील बनाउन सक्ने प्रश्नहरूको सँगालो छ/छैन भनेर खोज्ने प्रयत्न हाम्रो अनुसन्धानले गरेको थियो । त्यसका लागि हामीले गणितमा सिर्जनशीलता भनेको के हो र कसरी कक्षाकोठामा त्यसको अवसर सिर्जना गर्न सकिन्छ भन्नेमा केन्द्रित सामग्रीहरूको अध्यन गरेका थियौं । हाम्रा स्कुलहरूमा अहिले पढाइ हुने पुस्तकहरूको अध्ययन, अनुसन्धान गर्दा हामीले विद्यार्थीलाई सिर्जनशील बनाउन सक्ने प्रश्नहरूको सँगालो निकै कम पायौँ । विद्यार्थीलाई गणित गर्ने प्रक्रिया सिकाउनकै लागि, त्यसको प्रयोगबारे बिलकुल अनभिज्ञ राखेर गणितका अवधारणा सिकाउने नभई घोकाउने यत्न गरेको छ, हाम्रो गणित पाठ्य–पुस्तकले । लगभग एक प्रतिशतभन्दा पनि कम केही प्रश्न जुन सही तरिकाले कक्षाकोठामा प्रस्तुत गर्दा विद्यार्थीलाई सिर्जनशील हुने अवसर प्रदान गर्छ, त्यस्ता प्रश्नहरूले कक्षाकोठामा छलफलका लागि स्थान नै पाउँदैनन् भनेर पुस्तक लेखक, शिक्षक र विद्यार्थीहरूबाटै सुन्न पाइयो ।
घोकाइएको कुरालाई परीक्षामा जस्ताको तस्तै उतार्न सक्नेलाई पुरस्कृत गर्ने हाम्रो परीक्षा प्रणालीले विद्यार्थीलाई सिर्जनशील हुने यात्रामा न त प्रेरणा दिन्छ, न प्रयास नै गर्छ । सामूहिक सिकाइ, स्थानीय स्रोत र सामग्रीमा आधारित सिकाइ जसलाई अनुसन्धानहरूले सही सिकाइ गराउन सक्षम भनेर पहिचान गरेको छ, त्यसको प्रयोग सायदै हुने गरेको छ, हाम्रा कक्षाकोठामा । समग्र परीक्षा प्रणालीले सिकाइ र सिर्जनशीलतामा पर्नगएको नकारात्मक असरको गहन छलफल हुन जरुरी छ, तर त्यो हुन सकिरहेको छैन । विकी र गुगलको जमानामा हामीलाई घोक्न र रट्न सक्ने होइन, जानेको सूचनालाई
प्रयोगमा ल्याउन सक्ने, नवीन सोच गर्न सक्ने, सूचनालाई केलाएर निर्णय लिन सक्ने विद्यार्थी चाहिएको हो ।
हामीले विद्यार्थीलाई घोकन्ते बनाएका छौँ, त्यो पनि शिशु कक्षादेखि नै । समग्र सिकाइ र वास्तविक सिकाइमा हामीले लगभग समय नै दिनसकेका छैनौं । करिब पछिल्लो ३० वर्षदेखि नै हाम्रो सिकाइमा खासै तात्त्विक भिन्नता केही आएको छैन । गणितको वास्तविक सिकाइ त्यतिबेला सम्भव हुन्छ, जब विद्यार्थीले आफ्नै समाजका दैनन्दिनका समस्या समाधान गर्न उसले जानेको पुराना सूचना र ज्ञानबाट नयाँ परिस्थितिमा प्रयोग गर्न सक्ने बन्छ । विभिन्न सूचना, प्रविधि र ज्ञानको पाटोको प्रयोग गरेर नयाँ–नयाँ तरिका र विधिहरूको उत्पादन गर्न सक्छ । शिक्षकले नै जानेको कुरा भए पनि विद्यार्थीले आफै खोजी अथवा आविष्कार गर्न सक्यो भने उसले जिन्दगीमा अरु–अरु पनि आविष्कार गर्दै जाने हो । तब न आविष्कार र नयाँ थ्योरी बन्छ ।
हामीले विद्यार्थीलाई माछा मार्न सिकाउने शास्त्र पढाउनुपर्ने ठाउँमा माछा मारेर दिएका छौँ । माछा मार्ने तरिकामा समय नै दिएका छैनौँ । विद्यार्थीलाई माछा, खोला, जाल र बल्छीको चित्र देखाएका छौँ । आफैसँग भएको साधनको प्रयोग गरेर पनि सिकाइ र ज्ञान प्राप्त हुन्छ भनेर देखाएका छैनौँ । विद्यार्थीसँग रिसाएका छौँ । नजान्ने भनेर माया गरेका छैनौं । प्रेरित नै गर्न नसकिने पाठ्य–सामग्री दिएका छौँ । प्रेरणा दिनुको सट्टा गाली, डर र धम्की दिने गरेका छौँ ।
हामीले घोकाएरै अनि कम्प्युटरले निमेष भरमा गर्न सक्ने हिसाब पनि रटाएरै विद्यार्थीलाई पढाउँदैछौँ । जबकि जति–जति विद्यार्थीको लेभल बढ्दै जान्छ, अपरिचित समस्याहरू हल गर्न सक्ने मान्छे नै सफल हुन्छ । त्यसैले यस्तो खालको अनुभव सकेसम्म साना कक्षादेखि नै दिनसक्ने वातावरण हाम्रो शिक्षाले मिलाउनुपर्छ । पूरै परिवारबाट विछोड, पूरै भाषाबाट विछोड, समाजको पाटोबाट अलग राखेर अहिलेका अनुसन्धानहरूले अगतिलो भनेर प्रमाणित नै गरेका थोत्रा शिक्षण विधिबाट विद्यार्थी पढाउँदैछौँ हामी । कतै जन डीबीले भनेजस्तै हामीले हाम्रा कर्णधारको भविष्य बर्बाद त पारिरहेका छैनौँ ?

Page 7
विविधा

'नछुने' को नालीबेली

- सुजित मैनाली

अछाम जिल्लाको साँफेबगर नगरपालिकामा छाउ (महिनावारी) बार्न छाउगोठमा बसेकी महिलाको हालसालै मृत्यु भयो । सुदूर पश्चिमका महिलाले यस्तो नियति भोग्नुपरेको प्रसंग बेलाबेलामा दोहोरिरहने गर्छ । साँफेबगरको पछिल्लो घटनापछि छाउपडी प्रथाविरुद्ध सर्वत्र विषवमन भइरहेको छ । यस्तो कुसंस्कारलाई प्रश्रय दिने संस्कृतिमा सुधार गर्नुपर्ने र यस्तो अभ्यास गर्ने/गराउनेलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने पक्षमा आवाज घनिभूत
भइरहेको छ । छाउगोठमा महिलाको मृत्यु भइरहने किन गर्छ भनी बुझ्न महिनावारी बार्ने प्रथाको अभ्यास कसरी सुरु भयो र यस्तो प्रथाले संस्कृतिमार्फत अनुमोदित भएर आफूलाई कसरी व्यापक बनाउन सक्यो भनी खोतल्नुपर्छ ।

अस्वीकार्यताको आरम्भ
महिनावारी हुनेहरूलाई अपहेलना र बहिष्कार गर्ने चलनको आरम्भ कसरी भयो भन्नेबारे अनेक धारणा प्रचलनमा छ । ती मध्येको एउटा धारणाले भन्छ– सिकारमार्फत जीविकोपार्जन गर्ने जंगली युगमा महिनावारीको बेला योनिबाट बग्ने रगतले हिंस्रक जनावरलाई आकर्षित गर्ने र सिकारमा व्यवधान उत्पन्न गराउने गर्थ्यो । त्यसैले हिंस्रक जनावरबाट जोगाउन महिनावारी भएका महिलालाई ओडारमा सुरक्षाको उचित प्रबन्ध मिलाएर राख्ने चलन सुरु गरियो । महिनावारीले सिकारमा व्यवधान उत्पन्न गराउने भएकाले यसलाई नकारात्मक रूपमा हेर्न थालियो । यो मान्यतालाई त्यति गम्भीरतापूर्वक लिइँदैन ।
महिनावारी भएका महिलालाई बहिष्कार गरिनुको अर्को कारणले भन्छ– महिनावारी भएका महिलालाई पर्याप्त आराम सुनिश्चित होस् भनेर त्यस्ता महिलालाई घरगृहस्थीका कामबाट उन्मुक्ति दिलाउन महिनावारी बार्ने प्रचलन सुरु भएको हो । महिलाको सहजताको ख्याल गरेर त्यस समयमा मैथुनबाट निवृत्त हुने, घरायसी तथा सामाजिक कार्यमा सरिक हुन नमिल्ने संस्कृतिक विधान तय गरिएको हो भन्ने मत यस धारणाप्रति सहमति जनाउनेहरूको छ । यस्तो धारणा राख्नेहरूको संख्या ठूलो छ । तीमध्ये कतिपय पढेलेखेका पनि छन् । त्यसैले यस धारणामाथि थोरै प्रकाश पार्नु वाञ्छनीय हुन्छ ।
समाजको विशेषतः पुरातनपन्थी खेमाले महिनावारी अछुती सम्बन्धी यस्तो विश्लेषण गर्ने गर्छ । यस्तो खालको धारणाले महिनावारी अछुतीलाई वैद्य ठहर्‍याएर छाउपडी जस्ता महिलाद्वेषी प्रथालाई निरन्तरता दिनुपर्ने पक्षमा परोक्ष ढंगले पैरवी गर्छ । सामाजिक अभ्यास र पुराना शास्त्रहरूको आलोकबाट हेर्ने हो भने यस्तो विश्लेषण अपरिपक्व देखिन्छ ।
महिलाको हितमा महिनावारी बार्ने प्रचलन लक्षित हुन्थ्यो भने महिनावारी भएको बेला उनीहरूलाई आरामदायी ठाउँमा राख्ने, पोषिलो खानेकुरा दिने, सफासुग्घर रहन प्रेरित गर्ने चलन चल्ने थियो । यस्तो अभ्यास नगर्न प्रेरित गर्ने पुरुष अथवा महिलालाई चाहिँ ‘अछूत’ करार गरिने थियो । तर सामाजिक अभ्यास यसको ठिक विपरीत छ । नेपालका विभिन्न ठाउँमा महिनावारी भएको बेला कपाल कोर्न, नङ काट्न वर्जित गरिन्छ । घाम हेर्न अथवा दुग्ध परिकार खान दिइँदैन । बोटबिरुवा छोएमा फूल र फल झर्छ भनेर महिनावारी बेहोरिरहेका महिलालाई फलफूल खानबाट पनि परोक्ष ढंगले वञ्चित गरिएको छ ।
हजारौं वर्ष पुराना मूल्य–मान्यताबाट महिनावारी सम्बन्धी यस्ता महिलाद्वेषी संस्कार निःसृत भएका हुन् भन्ने कुरा प्राचीन हिन्दु ग्रन्थहरूको अध्ययन गर्दा पनि स्पष्ट हुन्छ । बृहदराण्यकोपनिषद् (५।४।१३) मा महिनावारी भएका महिलाले काँसको जलपात्रबाट पानी पिउन हुँदैन, तीन दिनसम्म नुहाउन हुँदैन भनी व्यवस्था गरिएको छ । तैत्तिरीयसंहितामा गरिएका व्यवस्थाले महिनावारी बार्ने चलन महिलालाई आराम अथवा पोषिलो खानेकुराको जोहो गराउनेतर्फ लक्षित छैन भन्ने अझ स्पष्टसँग देखाउँछ । यसमा (२।५।१) महिनावारी भएका महिलाले तीन दिनसम्म ननुहाइकन फोहोरी भएर बस्नुपर्ने, यस अवधिमा तेल र गाजल लगाउन नहुने, कपाल कोर्न नहुने, दाँत माझ्न नमिल्ने, नङ नकाट्ने व्यवस्था गरिएको छ । यस्ता काम गर्ने महिलाका छोरा चर्मरोगी, नपुंसक अथवा पागल हुन्छ, पानीमा डुबेर तिनको मृत्यु हुन्छ अथवा झुन्डिएर तिनले आत्महत्या गर्छन् भनिएको छ । तैत्तिरीयब्राह्मण, जैमिनीसूत्र, परासरस्मृति, विष्णुधर्मसूत्र, याज्ञवल्क्यस्मृति, मनुस्मृति लगायत धर्मशास्त्रमा पनि यस्तै भाव दोहोर्‍याइएको छ ।
महिनावारी बार्ने चलनको उद्भवबारे अर्को धारणाले भन्छ— यो महिलामाथि दमन गर्ने पुरुषप्रधान समाजको महिलाद्वेषी रचना हो । महिलावादीहरूले यस्तो विश्लेषणप्रति सहमति जनाउने गरेका छन् । यस धारणालाई विभिन्न कोणबाट व्याख्या–विश्लेषण गर्ने गरिएको छ । तीमध्ये अमेरिकी मानवशास्त्री बेभर्ली आई. स्ट्रासम्यानले अघि सारेको एउटा धारणाबारे चर्चा गर्नु बढी सान्दर्भिक हुन्छ ।

कसको चलन ?
हामीमध्ये धेरैलाई छाउपडी प्रथा हिन्दु समुदायले अभ्यास गर्ने कुप्रथा हो भन्ने भ्रम छ । भारतीय उपमहाद्वीप हिन्दु बहुल भएकाले र महिनावारी बार्ने सवालमा हिन्दु समुदाय कट्टर रहेकाले महिनावारी र हिन्दु धर्मलाई जोडेर हेर्ने गरिएको हो । नेपालका जनजाति समुदायमा महिनावारी बार्ने प्रचलनको खासै अभ्यास छैन । त्यसैले महिनावारी अछुती हिन्दु
धर्मसँग सम्बन्धित मान्यता हो भन्ने धारणा नेपालमा पनि प्रबल छ ।
तर महिनावारी बार्ने प्रचलन हिन्दु धर्मबाट निःसृत प्रथा होइन । यो महिलाद्वेषी पुरुषप्रधान चिन्तनको उपज हो, जसलाई हिन्दु धर्मसंस्कृतिले पनि हजारौं वर्षदेखि कडाइका साथ अभ्यास गर्दै आएको छ । संसारभरका विभिन्न जनजाति समुदायमा पनि महिनावारी बार्ने अथवा छाउपडी प्रथा जीवन्त हुनुले कुनै अमूक धर्मसँग यस्तो प्रथाको साइनो छैन भन्ने देखाउँछ ।
भारतीय राज्य महाराष्ट्र र छत्तिसगढमा बसोबास गर्ने माडिया गोन्ड समुदायका आदिवासीमाझ महिनावारीलाई लिएर एउटा रोचक किंवदन्ती प्रचलित छ । किंवदन्ती अनुसार कुनै समय योनिमा दाँत हुने गर्थ्यो रे । समयक्रममा योनिबाट दाँत उखेलियो रे । दाँत उखेल्दा बनेको घाउ अहिलेसम्म भरिएको छैन रे । त्यसैले बेलाबेलामा घाउबाट रक्तस्राप भइरहने गरेको रे ।
महिनावारी बार्ने सन्दर्भमा विभिन्न जनजाति समुदाय हिन्दुभन्दा कम कट्टर छैनन् भन्ने कुरा मानवशास्त्री बेभर्लीले गरेको अध्ययनले पनि देखाउँछ । बेभर्लीले अफ्रिकी मुलुक मालीमा बस्ने डोगन आदिवासीहरूमाथि वर्षौं अध्ययन गरिन् । डोगन आदिवासीहरूको सामाजिक रीतिथितिमध्ये महिनावारी बार्ने चलनप्रति बेभर्ली विशेष आकर्षित भइन् । डोगन आदिवासीहरूमाझ अभ्यास हुने रजस्वालाजन्य अछुतीलाई केन्द्रमा राखेर उनले संसारका विभिन्न ठाउँमा हुने यस्ता अभ्यासको तुलनात्मक अध्ययन गरिन् ।
करिब अढाई वर्ष लामो अध्ययनपछि उनले डोगन आदिवासीमाझ अभ्यास हुने छाउपडी प्रथाबारे रोचक प्रस्तावना अगाडि सारेकी छिन् । उनका अनुसार महिलाको यौनिकतालाई प्रत्यक्ष निगरानीमा राखेर त्यसमाथि एकाधिकार जमाउने हेतुले महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने प्रचलन सुरु गरिएको हो । महिलालाई छाउगोठमा राख्दा पुरुषप्रधान समाजलाई तीन किसिमले फाइदा हुन्छ भन्ने निष्कर्ष बेभर्लीले निकालेकी छिन् । पहिलो फाइदा हो, छाउपडी प्रथामार्फत महिलाको प्रजनन क्षमता सजिलोसँग थाहा पाएर सन्तानोत्पादन प्रक्रियालाई प्रभावकारी बनाउन श्रीमानलाई सहज हुन्छ । दोस्रो, श्रीमान बाहिर गएको महिना महिला छाउगोठ नगए उसको महिनावारी रोकिएको ठहर गरेर परपुरुषगमनको ‘कसुर’मा महिलालाई दण्डित गर्न सजिलो हुन्छ । परपुरुषगमन गर्ने महिलाको नाक काटेर घरनिकाला गर्ने चलन राणाकालको अन्त्य नहुन्जेल नेपालमा अभ्यास हुन्थ्यो भन्ने तथ्य स्मरण गर्नु यहाँ सान्दर्भिक हुन्छ । बेभर्लीका अनुसार छाउपडी प्रथाबाट पुरुषप्रधान समाजलाई हुने तेस्रो लाभ हो, छाउपडी प्रथामार्फत अविवाहित महिलाको यौन जीवनबारे सार्वजनिक जनाउ मिल्ने भएकाले ‘कुमारीत्व गुमाइसकेकी’ महिलासँग बिहे गर्ने ‘जोखिम’बाट पुरुषलाई उन्मुक्ति मिल्छ ।
छाउपडी प्रथा सम्बन्धी बेभर्लीले यस्तो निष्कर्ष नेपाली सन्दर्भमा पनि उपयोगी हुनसक्छ । यसतर्फ लैंगिक अध्ययनमा अभिरुचि भएका विज्ञहरूको ध्यान जान आवश्यक छ । अछाम लगायत सुदूर पश्चिमको ग्रामीण भेगका महिला छाउगोठ नियमित गइरहेका छन्/छैनन् भन्ने कुरालाई परिवार र समाजले अनुगमन गरिरहेको हुन्छ । अविवाहित किशोरी अथवा महिला छाउगोठ जान ढिला भए उनीहरूमाथि संशयका अनेक प्रश्न तेर्साइन्छन् । ‘तिम्रो महिनावारी रोकिनुको कारण के हो ?’ ‘तिमीले कसैसँग यौन सम्पर्क त गरेनौं ?’ ‘गर्भवती त भएकी छैनौं तिमी ?’ जस्ता अनेकन प्रश्नले महिलालाई हायलकायल बनाइन्छ । यी तथ्यले महिलाको यौनिकतामाथि एकाधिकार जमाउने पुरुषकेन्द्रित मनोवृत्ति सुदूर पश्चिममा अभ्यास हुने छाउपडी प्रथामाथि हावी भइरहेकोतर्फ संकेत गर्छ ।

दुई आयाम
हजारौं वर्षदेखि नेपाली समाजले महिनावारी बार्ने चलन मानिआएकाले यसलाई हटाउन अप्ठेरो परिरहेको छ । फेरि सांस्कृतिक परिवर्तन चाँडै हासिल हुने कुरा पनि होइन । सांस्कृतिक रूपान्तरणका लागि कष्टसाध्य लामो प्रक्रियाबाट गुज्रिनु अनिवार्य हुन्छ । यसबारे सबैले हेक्का राख्न आवश्यक छ ।
घरभित्रै महिनावारी बार्ने अथवा महिनावारी भएकाहरूलाई छाउघरमा राख्ने प्रचलन विरुद्ध राज्यले पछिल्लो समय कडाइ गरेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले रजस्वला बार्ने अथवा छाउपडीमा राख्ने कृत्यलाई फौजदारी कसुर ठहर गरेको छ । ऐनको दफा १६८ (३) मा ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन’ भनिएको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था ऐनमा छ ।
अछामको साँफेबगरमा भएको घटनाका ‘दोषी’उपर प्रहरी प्रशासनले यही ऐन अनुरूप कारबाही अघि बढाएको छ । छाउगोठमै मृत्यु भएकी युवतीका माइती पक्षले जाहेरी दिन अस्वीकार गरेपछि प्रहरीले आफ्नै प्रतिवेदनका आधारमा ‘दोषी’लाई कानुनी कठघरामा उभ्याउने कारबाही अघि बढाएको छ । यस्ता विषयमा उजुरी पर्खिएर समय खेर नफाली प्रहरी प्रशासन ‘दोषी’लाई कठघरामा उभ्याउन अग्रसर हुनु स्वागतयोग्य कदम हो । तर यसो गरिरहँदा छाउपडी प्रथाका ‘दोषी’ परिवारका सदस्यमात्र होइनन्, उनीहरू यस्तो ‘दोष’का साना अंशियारमात्र हुन् भन्ने हेक्का पनि हामीले राख्नुपर्छ । छाउपडी प्रथाको मुख्य दोषी भनेको पुरुषप्रधान सामाजिक संरचना हो । त्यसैले हाम्रो प्रहार अमूक व्यक्तिमाथि नभई महिलाद्वेषी सामाजिक कुरीतिमाथि बढी केन्द्रित हुनुपर्छ । सांस्कृतिक सुधारका लागि कानुनी अग्रसरता सहायक हुनसक्छ, पर्याप्तचाहिँ हुँदैन । तसर्थ कानुनी घनले मात्र छाउगोठ ढाल्न सकिँदैन । सायद यही कुरा महसुस गरेर मुलुकी अपराध (संहिता) ऐनले महिनावारी सम्बन्धी कसुर गर्ने विरुद्ध खुकुलो सजायको व्यवस्था गरेको हो ।
रजस्वलाजन्य अछुतीलाई निर्मूल गर्न दुई खालका काम समानान्तर ढंगले काम अघि बढाउन आवश्यक छ । पहिलोमा दीर्घकालीन काम पर्छन् । यस अन्तर्गत महिलालाई आर्थिक रूपमा स्वावलम्बी र आत्मनिर्भर बनाउन पैतृक सम्पत्तिमा उनीहरूको हक–अधिकार व्यावहारिक रूपमै सुनिश्चित गर्ने, उनीहरूलाई उद्यमशील बन्न प्रेरित गर्ने लगायत कदम चाल्नुपर्छ । आर्थिक रूपमा सम्पन्न महिलालाई छाउगोठमा जाक्न सजिलो हुँदैन । महिलाको आर्थिक जीवनमा सुधार ल्याउँदै गर्दा महिनावारीलाई नछुने करार गर्ने संस्कार बदल्न जनचेतनामूलक कार्य र सामाजिक बहसलाई व्यापक बनाउनुपर्छ । स्थानीय तह, स्थानीय संघ–संस्था र स्थानीय अगुवाहरूलाई साथ लिएर यस्तो बहसलाई भुइँतहसम्म व्यापक बनाउन सकियो भने यसले दिगो नतिजा दिन सक्छ ।
महिनावारीसम्बन्धी अछुती रोक्ने दोस्रो काममा तत्काल चाल्नुपर्ने कदम पर्छन् । महिनावारी बार्ने प्रचलन मानिसको संस्कृति र मनोविज्ञानमा गहिरोसँग गाडिएकाले छाउगोठ भत्काउने खालका उत्तेजक गतिविधिभन्दा छाउगोठ भत्काउन जनतालाई प्रेरित गर्ने नीतिगत व्यवस्था बढ्ता प्रभावकारी हुन्छ । छाउगोठ नजाने अथवा आफ्ना छोरीचेली, बुहारीलाई छाउगोठ नपठाउने घोषणा गर्ने व्यक्तिलाई राज्यले प्रोत्साहन रकम उपलब्ध गराएर यसको आरम्भ गर्न सक्छ । छाउगोठ भएका घरपरिवारलाई वृद्धभत्ता, एकल महिला भत्ता, कृषि अनुदानजस्ता सामाजिक सुरक्षाका प्रबन्धबाट वञ्चित राख्ने खालका प्रावधान पनि उफयोगी हुन सक्छन् ।
ट्वीटर ः २कगवष्तबष्लबष्
ि

Page 8
विविधा

छोराजस्तो छोरी कि छोरीजस्तै छोरी ?

- लक्ष्मी बखाद्यो

‘एकादेशमा एउटा बाबा थियो,
बाबाको एउटी छोरी थिई,
छोरी ज्ञानी थिई, छोरी सानी थिई,
बाबाको आँखाको नानी थिई...’

क तिलाई याद होला या नहोला यो गीत, तर छोरी हुनुको गर्व झल्काउने गीत थियो यो । ईश्वरी प्रधान र नीर शाहले अभिनय गरेको यस गीतमा छोरी र बाबाको सुमधुर सम्बन्ध झल्काउने प्रयास गरिएको थियो । त्यस्तै थियो, मेरो र मेरो बाबाको सम्बन्ध पनि । परिवारको अन्तिम सन्तान, त्यसमाथि पनि कान्छी छोरी भएर जन्मिँदाको रमाइलो नै बेग्लै थियो । त्यसमाथि छोरा र छोरीमाथि कुनै भेदभाव नगरिने परिवारमा जन्मन पाउँदा यो महिला हिंसा विरुद्धको अभियानको पनि कुनै मेसो नै नहुँदो रहेछ । वास्तवमै भन्नुपर्दा कानुन संकाय नपढेको भए, मलाई प्रत्येक वर्ष डिसेम्बर १० मा मनाइने मानव अधिकार दिवस र १६ दिने लैङ्गिकतामा आधारित हिंसा विरुद्धको अभियान कागलाई बेल पाक्यो हर्ष न विस्मात हुने थियो होला । सानो छँदा बुबाले मेरो छोराजस्तो छोरी भन्दा म मख्ख पर्थें । यो प्रसंग फेरि एकपटक जोडियो, अमर न्यौपानेको ‘गुलाबी उमेर’ पढ्दाखेरी । वास्तवमै जब ऋतु आफ्नै खुसीले ऋतुराज भई त्यो उमेरको सम्झना गर्दा मलाई आफ्नैबारे कथा
लेखिएको जस्तो आभाष भयो । त्यो गुलाबी उमेरमा म पनि सायद त्यस्तै थिएँ, दाजुभाइसंँगको साइकल यात्राले मलाई पनि छोरा भनेको नै मनपर्न थालेको थियो । बुबाआमाले मलाई कान्छो छोराको संज्ञा दिँदा म मनमनै हर्षित हुन्थेंँ ।
‘गुलाबी उमेर’ पढ्दै जाँदा जुन प्रसंग निस्कियो र सो कथाकी नायिकाले आफूलाई भनिन्, ‘दाजु जो बितेका थिए, उनलाई बिर्सन नसकेर मलाई बाबु भनेका हुन् या मलाई नै छोरा मानेका हुन्’—यसले भने मलाई वास्तवमै सोच्न बाध्य बनायो, छोराजस्तो छोरी किन ? छोरी अर्थात महिलामा के गुण पुग्दैन वा के गुण बढी हुन्छ र छोरी छोराजस्तो हुनका लागि । प्रकृतिले मानिसलाई कि छोरा बनाएको छ, कि त छोरी (तेस्रो लिंगी बाहेकको सन्दर्भमा), यहाँ छोराजस्तो छोरीको कल्पना कहाँबाट आयो ? के छोराको अभाव परिपूर्ति गर्न छोराजस्तो छोरीको परिकल्पना गरियो ? छोरा जस्तो छोरी भन्नु आफैमा लैङ्गिकतामा आधारित हिंसा हो कि होइन ? कुनै पनि प्रकारको नकारात्मक असरलाई हिंसा भनिन्छ । एउटा कार्य एकका लागि हिंसा हुनसक्छ भने सोही कार्य अर्काको लागि हिंसा नहुन पनि सक्छ । तर प्रश्न नकारात्मक असर कसरी पर्‍यो र कसरी परेन भन्ने विषयसंग सम्बन्धित छ । अनविज्ञताको कारणले गर्दा नकारात्मक असर नपरेको हो या ज्ञान भएर पनि नकारात्मक असर नपरेको हो ? यो विषयको भने अध्ययन गर्न जरुरी छ । कुनै दिन त्यस्तो पनि थियो, जतिबेला रजस्वला नहुँदै छोरीको विवाह गरेमा पुण्य प्राप्त हुन्छ भनिन्थ्यो । त्यतिबेलाका महिलालाई सो कार्य धर्म निर्वाह गरेको जस्तो लाग्थ्यो । तर अहिले यो कार्य बालविवाह हो र अपराध पनि । त्यस्तैगरी वैवाहिक बलात्कारको विषयलाई नै एकपटक विश्लेषण गरौं, अधिवक्ता मीरा कुमारी ढुंगानाले रिटमार्फत वैवाहिक बलात्कार पनि अन्य बलात्कारजस्तै अपराध हो भनी मुद्दा नहालुन्जेल सो क्रियालाई अपराधका रूपमा वा महिला विरुद्ध हिंसाको संज्ञा दिइएको थिएन । तसर्थ थाहा पाएरै या थाहा पाउने उमेर नपुग्दै बालिकाहरूमा बालक राम्रो हुन्छ, विद्वान्
हुन्छ भन्ने मानसिकता त कतै हामीले दिइरहेका छैनौं ?
सन् २०१८, डिसेम्बरमा ‘इन्डिपेन्डेन्ट’ पत्रिकाले न्युयोर्क विश्वविद्यालयमा गरेको अध्ययन सम्प्रेषण गरेको थियो । जुन अनुसन्धानले ‘बालबालिकाहरूमा पनि लैङ्गिकतामा आधारित विभेद रहेको र बालिकाहरूले आफूलाई बालकहरूको अगाडि कमजोर महसुस गर्छन्’ भन्ने तथ्य उजागर गरेको थियो । त्यतिमात्रै होइन, २०१७ जनवरी १७ मा ‘फोर्च्युन’ नामक पत्रिकाले ‘६ वर्षकी हुँदा नै बालिकाले बालकलाई वा महिलाभन्दा पुरुषलाई बढी क्षमतावान ठान्छन्’ भन्ने तथ्यांक सार्वजनिक गरेको थियो । नेपालमै हेरौं न हामी, अझै पनि प्रमुख अतिथि
महिला भएको कार्यक्रम हामी बिरलै भेट्छौं । यसको अर्थ, कि महिलाले त्यस्तो हैसियत बनाइसकेकी छैनन्, कि त त्यस्तो हैसियत बनाउन दिइएको छैन ।
प्रत्येक वर्ष कानुन संकायको प्रथम वर्षमा जब कानुनको महत्त्वबारे अध्यापन गराउँछु, त्यतिबेला भन्न मन नलागे पनि भन्न बाध्य हुन्छु, ‘महिलालाई समाजको कमजोर वर्गको रूपमा विश्लेषण गरिएको छ र समानताका लागि सकारात्मक विभेदमार्फत उनीहरूलाई उकास्ने प्रत्यन्त गरिएको छ ।’ यति कुरा भन्दै गर्दा आफैलाई नियाल्ने गर्छु भनी म आफैलाई सोध्ने गर्छु, ‘के म समाजको एक कमजोर वर्गमा पर्छु ? पर्छु भने कसरी, अनि पर्दिन भने किन र कसरी ?’ काठमाडौंबासी भएको नाताले स्रोत र साधनमा मेरो पहुँचमा कुनै कमी आएन, मैले पनि दाजुहरूसरह नै शिक्षाको मौका पाएँ । यसर्थ म कमजोर समुदायभित्र परिन, तर मेरो अस्तित्वलाई स्वीकार गरियो त ? मलाई छोरीजस्तै छोरीभन्दा ’नि छोराजस्तो छोरीको संज्ञा दिइयो । सबल हुनका लागि व्यक्तिको अस्तित्व स्वीकार गर्न ’नि उत्तिकै महत्त्वपूर्ण हुन्छ, जति स्रोतमा पहुँचको आवश्यकता छ ।
छोरा र छोरीमा कुनै भेदभाव गरिएको छैन भन्नुको तात्पर्य छोरीलाई छोरा बनाउनु वा छोरीलाई छोराको संज्ञा दिनु होइन । यो त समाजमा छोराको अर्थात पुरुषको जति मानसम्मान छ, त्यति नै छोरीको पनि हुनु हो, तर छोराजसरी होइन, छोरीजसरी नै । लैङ्गिकतामा आधारित हिंसाको कुरा गर्दा हामी महिलामाथि हुने हिंसाको चर्चा गर्छौं । किन त ? महिलामाथि हुने हिंसा नै धेरै छ । घरमा छोराको इच्छा गरिन्छ । परिवारका अन्य सदस्यहरू मात्र होइनन्, नौ महिनासम्म आफ्नो गर्भमा हुर्काउने आमाले पनि पहिलो सन्तान छोरा नै होस् भन्ने चाहना राख्छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७५–७६ मा मात्रै २,२३० वटा जबर्जस्ती करणी, ७८६ वटा जबर्जस्ती करणी उद्योग, २५८ वटा मानव बेचबिखन, २७ वटा गर्भपतन, १००१ वटा बहुविवाह, ८६ वटा बालविवाह, १४,७७४ वटा घरेलु हिंसा, ४६ वटा बोक्सीको आरोप, ४३ वटा छुवाछूत, २११ वटा बाल यौन दुर्व्यवहारका मुद्दा दर्ता भएका थिए । यी सबै तथ्यांक हेर्दा महिला पीडितको संख्या धेरै भएको आंँकलन गर्न सकिन्छ । यही कारण लैङ्गिकताका आधारमा गरिने हिंसाको छलफलमा हामी महिलामाथि हुने हिंसाको विश्लेषण गर्छौं ।
महिला वा पुरुष वा तेस्रो लिङ्गी सबै पहिला मानव हो, अनिमात्र महिला, पुरुष र तेस्रो लिङ्गी । जबसम्म हामी एकलाई अर्कोसँंग दाँज्ने होडमा हुन्छौं र समानान्तर हुने प्रयास गर्छौं, तबसम्म समान हुन सक्दैनौं । छोरा र छोरी कसरी समान हुन्छ ? दुबैमा आआफ्नो
फरक क्षमता हुन्छ । मनोविज्ञानले भन्छ, प्रत्येकको क्षमता फरक हुन्छ, माछालाई रुख चढ्न दिई परीक्षण गर्नु जति मुर्खतापूर्ण कार्य हो, त्यति नै फरक क्षमता भएको मान्छेलाई एउटै पगरी पहिराउनु पनि । तसर्थ हामीले छोरा वा छोरीलाई जो जे हो, त्यही हुन प्रोत्साहन गरौं, फरक क्षमता भएका व्यक्तिलाई आफ्नै क्षमताले परिचय बनाउन दिऊँ । छोरीलाई छोराजस्तो भनिरहँदा छोरी त कमजोर हुँदिरहिछे, छोरामात्रै बुद्धिमान् र बलवान हुन्छ भन्ने मानसिकताले महिला विरुद्धको हिंसाको निरन्तर चक्रलाई अझ मजबुत बनाउन सक्ने सम्भावना धेरै हुन्छ । अतः छोरा होस् या छोरी दुवैलाई सन्तानको नै संज्ञा दिऊँ ।

विदेश

बेलायतको सत्तारूढ दललाई बहुमत

६ सय ५० क्षेत्रमा भएको निर्वाचनमा कन्जरभेटिभ दलले ३ सय ६४ स्थानमा विजय प्राप्त गरेको छ । कन्जरभेटिभले सन् १९८७ यता जितेको यो सबैभन्दा धेरै सिट हो ।
- नवीन पोखरेल
बेलायतमा बिहीबार भएको मध्यावधि निर्वाचनमा सत्तारूढ दल कन्जरभेटिभले बहुमत हासिल गरेपछि प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार बधाइ दिँदै प्रधानमन्त्री कार्यालयका कर्मचारी । आफ्नो दलको विजयसँगै बेलायतका प्रधानमन्त्री पदमा जोन्सनको निरन्तरता सुनिश्चित भएको छ । तस्बिर ः रोयटर्स

(लन्डन) - बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनको पार्टी कन्जरभेटिभले बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बहुमत ल्याएको छ ।
इंग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र नर्दन आयरल्यान्डका कुल ६ सय ५० क्षेत्रमा भएको निर्वाचनमा कन्जरभेटिभले ३ सय ६४ स्थानमा विजय प्राप्त गरेको हो । यो सिट अघिल्लो निर्वाचनभन्दा ४७ सिट बढी हो । बहुमतका लागि ३ सय २६ सिट आवश्यक थियो ।
बेलायतमा ५ वर्ष नपुग्दै भएको तेस्रो आमनिर्वाचनमा प्रतिपक्षी लेबर पार्टीले २ सय ३, स्कटिस नेसनल पार्टीले ४८, लिबरल डेमोक्र्याटले ११, डेमोक्र्याटिक युनियनिस्ट पार्टी (डीयूपी) ले ८ र अन्यले १५ जितेका छन् ।
कन्जरभेटिभको यस विजयलाई ऐतिहासिक भनिएको छ । कन्जरभेटिभ पार्टीले सन् १९८७ मा मार्गरेट थ्याचरको जितयताकै सबैभन्दा धेरै सिट जित्न सफल भएको हो ।
बेलायती संसद् हाउस अफ कमन्स्मा वर्चस्वसंगै जोन्सन पुनः प्रधानमन्त्री बन्नेछन् । नयाँ सरकार गठनका लागि उनले शुक्रबार बिहान महारानी एलिजावेथ द्वितीयसँग अनुमति लिइसकेका छन् ।
सत्तारुढ दल कन्जरभेटिभका नेता तथा प्रधानमन्त्री जोन्सनको ब्रेक्जिट नीति बेलायती संसद्ले अस्वीकार गरेपछि बढ्दो अन्योल कम गर्न र आफ्नो पार्टी कन्जरभेटिभको संसद्मा बहुमत ल्याउन बोरिसले मध्यावधि चुनाव घोषणा गरेका थिए ।
सन् १९३५ यताकै सबैभन्दा नराम्रो धक्का बेहोरेको लेबरले यसपटक ५९ सिट गुमाएको छ भने स्कटिस नेसनल पार्टीले १३ सिट बढाएको छ । स्कटिस नेसनल पार्टीले अत्यधिक सिट जितेपछि स्टकल्यान्डको स्वतन्त्रताका लागि जनमत संग्रह अरु बुलन्द हुने अनुमान छ ।
यसपटकको चुनावबाट बेलायती संसद्मा हालसम्मकै बढी अर्थात् २ सय २० महिला सांसद निर्वाचित भएका छन् ।
वाम झुकाव रहेको प्रतिपक्षी लेबर पार्टीको लज्जास्पद हारले बेलायती राजनीतिले अर्को मोड लिएको छ । घोषणापत्रमा आकर्षक नीति राखे पनि ब्रेक्जिट मुद्दामा फितलो अडान तथा नेता जेरेमी कोर्बिनको अलोकप्रियताले गर्दा लेबरले हार बेहोरेको विश्लेषण गरिएको छ ।
ब्रेक्जिट तोकिएकै मितिमा
प्रधानमन्त्री जोन्सनले बेलायत युरोपेली संघ (ईयू) बाट बहिर्गमन हुन ‘शक्तिशाली नयाँ जनादेश’ प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले अब तोकिएकै मिति जनवरी ३१ मा बेलायत ईयूबाट बाहिरिने बताएका छन् तर त्यसको विस्तृत विवरण दिएनन् । उनले दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्ने
पनि बताए ।
उनले सबै मतदातालाई धन्यवाद दिए र मतदाताको विश्वासप्रति घात नगर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘जनताले परिवर्तनको पक्षमा मतदान गरेका छन् र त्यस्तो परिवर्तन ल्याउन हामी आफैं पनि बदलिनुपर्नेछ ।’
ट्रम्पले दिए बधाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोन्सनलाई चुनावमा विजयी भएकामा बधाइ दिँदै बेलायतसँग अमेरिकाले व्यापक स्तरको व्यापार सम्झौता गर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पसँग घनिष्ट सम्बन्ध रहेका प्रधानमन्त्री जोन्सनले अमेरिकासँग विशेष व्यापारिक सम्बन्ध बढाउने अपेक्षा पनि गरिएको छ । ब्रसेल्समा रहेका ईयू नेताहरूले पनि जोन्सनलाई बधाइ दिएका छन् ।
संसद्मा कन्जरभेटिभ पार्टीको भारी बहुमतबारे लेखक एवं कानुनविद् गोविन्द बेल्वासे भन्छन्, ‘टोनी ब्लेयरलाई प्रयोग गरेर वामपन्थीलाई उदारवादी पुँजीवादमा झार्न सफल भएका सम्भ्रान्तहरू कोर्बिनको उदयबाट चिन्तित थिए । यो निर्वाचनले ती सम्भ्रान्तलाई सबैभन्दा ठूलो राहत मिलेको छ ।’
वेस्ट मिनिस्टरसँग अलग हुन स्कटल्यान्ड र उत्तर आयरल्यान्ड झन् उग्र हुने र बेलायत झन् साँघुरिने दाबी बेल्वासेको छ । बेलायतका
प्रमुख दलहरूले ब्रेक्जिट मुद्दासहित अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, सुरक्षालगायत प्रमुख एजेन्डा बनाएका थिए ।
निर्वाचन परिणामसँगै राजनीतिक स्थायित्वको आभासपछि बेलायती मुद्रा पाउन्ड स्टर्लिङ र सेयर बजार सूचकांक पनि अप्रत्याशित बढेको छ । ब्रेक्जिटका कारण बेलायतमा धेरै दशकपछि आएको राजनीतिक अस्थिरता अब समाप्त हुने विश्वास गरिएको छ ।
तर, पूर्व काउन्सिलर एवं सन् २०१७ मा लेबर पार्टीका तर्फबाट संसदीय उम्मेदवार डा. बच्चुकैलाश कैनी निर्वाचित सरकारले पनि ब्रेक्जिट टुंगो लगाउँछ भन्ने कुनै ‘ग्यारेन्टी’ देख्दैनन् । ‘किनकि ब्रेक्जिटको केही प्राविधिक कुरा जस्तै, उत्तरी आयरल्यान्डसँगको सीमा व्यवस्थापन कसरी गर्ने भन्नेबारे अझै निश्चित भएको छैन्,’ उनले भने ।
किङ्सटन युनिभर्सिटीका रिसर्च फेलो एवं अक्सफोर्ड युनिभर्सिटीका रिसर्च एफिलियट डा. मित्र परियार बेलायती राजनैतिक अनिश्चितताको प्रमुख स्र्रोत ब्रेक्जिट नै भएकाले अब यो केही हदसम्म सुल्झने विश्वास गर्छन् ।
‘ब्रेक्जिटले यूकेबासी धेरै नेपालीलाई प्रत्यक्ष बेफाइदा गर्दैन् । तर, यो मुद्दा आप्रवासीविरोधी विचारधाराद्वारा निर्देशित भएको हुनाले जातीय विभेद र उत्पीडन वृद्धि हुने पक्का छ,’
परियारले भने ।
सत्तारुढ कन्जरभेटिभ पार्टीको बहुमत प्राप्तिले युरोपियन युनियन (ईयू) जनमत संग्रह (ब्रेक्जिट) पछि विभाजित बेलायतको राजनीतिमा नयाँ स्थायित्व प्रदान गर्ने अपेक्षा गरिएको छ । ईयू विरोधीका रूपमा चित्रित प्रधानमन्त्री बोरिस जोन्सनले सन् २०१६ को जनमत संग्रहको नतिजाअनुरूप ब्रेक्जिट मुद्दा चाँडै पार लगाउने आशा छ ।
गत अक्टोबरमा गरिएको ईयूसँगको सम्झौता पारित गरी सन् २०२० डिसेम्बरभित्र ईयूसँग व्यापारिक तथा भविष्यको सम्बन्धबारे तय गरेर बेलायतलाई अघि बढाउने जोन्सनको नीति छ । तर, यसका लागि थप समय लाग्ने अनुमान छ ।
ब्रेक्जिटप्रति नरम नीति अख्तियार गर्ने आशा
पूर्ण बहुमत आएपछि प्रधानमन्त्री जोन्सनले सुरुमा लिएको कडा ब्रेक्जिट नीतिमाथि पुनर्विचार गरी सफ्ट ब्रेक्जिट नीतिमार्फत बेलायती जनमानसमा सन्तुलन कायम राख्ने सम्भावना रहेको कपितपयको विश्लेषण छ ।
प्रधानमन्त्री जोन्सनले गत अक्टोबरमा युरोपियन युनियनसँग भएको ब्रेक्जिट सहमति कार्यान्वयन गरी ईयूसँग भविष्यको सम्बन्धका लागि वार्ता गर्ने, अरू देशहरूसँग व्यापारिक सन्धिसम्झौता गर्ने, ५० हजार नर्स संख्या बढाउने एजेन्डा सार्वजनिक गरेका थिए ।
त्यसैगरी बेलायतको स्वास्थ्य सेवाका लागि
सन् २०२४ सम्म ३.२ प्रतिशत बजेट बढाउने, २० हजार प्रहरी थप्ने, अर्थतन्त्र बलियो
बनाउने, ५० मिलियन थप जीपी सर्जरी अपोइन्टमेन्टजस्ता नीति चुनावअघि घोषणा गरेका थिए । उनले अध्यागमन प्रणाली अस्ट्रेलिया
अनुरुप ‘प्वाइन्ट बेस्ड सिस्टम’ लागू गर्ने घोषणा गरेका छन् ।
सन् २००८ को विश्व आर्थिक मन्दीपछि बेलायतमा धनी र गरिबबीचको खाडल
बढिरहेको विभिन्न तथ्यांकले बताएको छ । बेलायतको अन्य पार्टीको तुलनामा सत्तारुढ कन्जरभेटिभ पार्टीले खर्च नीति निकै कम गरेको छ । अहिले भएको सरकारी खर्चमा २ अर्ब ९० करोड पाउन्ड बढाउने, इंग्ल्यान्डमा ५० हजार नर्सका लागि ९० करोड पाउन्ड खर्च गर्ने
उसको लक्ष्य छ ।
यसबाहेक सन् २०२४ भित्र ८ अर्ब १० करोड पाउन्ड लगानी गर्ने लक्ष्य पनि पार्टीले बनाएको छ । बहुमत ल्याएको पार्टीले अब व्यवहारमा के गर्छ सबैमा कौतुहल छ ।
नतिजा निराशाजनक ः कोर्बिन
सांसदका रूपमा १० औं पटक पुनः विजयी भएका प्रमुख विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले चुनावमा हार स्विकार्दै नतिजा असाध्यै निराशाजनक रहेको बताएका छन् । अप्रत्याशित नतिजासँगै उनले आगामी निर्वाचनमा आफूले दलको नेतृत्व नगर्ने उद्घोष गरेका छन् ।

विदेश

जोन्सन जोस

- एजेन्सी

लन्डन – सन् १९६४ को जुन १९ मा अमेरिकाको न्युयोर्कमा जन्मिएका जोन्सनका बाबु कूटनीतिज्ञ र आमा कलाकार हुन् ।
बेलायत फर्किनुअघि उनको परिवार केहिसमय बेल्जियममा समेत बसेको थियो । सम्भ्रान्तहरूको मात्र पहुँच पुग्ने इटन स्कुलमा विद्यालय स्तरको अध्ययन गरेका जोन्सनले त्यहीं सन्की व्यवहार सिकेको बताइन्छ ।
बेलायतको अक्सफोर्डमा विश्वविद्यालयस्तरको शिक्षा लिएका जोन्सन सन् १९८६ मा अक्सफोर्ड युनियनका अध्यक्ष भएका थिए । टाइम म्यागाजिनबाट आफ्नो पत्रकारिता करिअर सुरु गरेका जोन्सनले एउटा उद्धरण गलत उद्धृत गरेका कारण जागिरबाट हात धुनुपर्‍यो ।
त्यसलगत्तै सन् १९९४ देखि १९९९ सम्म कन्जरभेटिभ विचारप्रति ढल्केको पत्रिका द डेली टेलिग्राफको ब्रसेल्स संवाददाताका रूपमा काम
गरे । त्यसलगत्तै उनले केही समय द स्पेक्टेटर पत्रिकाको सम्पादकका रूपमा समेत काम गरे ।
‘द टाइम्स’ बाट हटाइएका जोन्सनको डेली टेलिग्राफ र द स्पेक्टेटरमा भने कार्यकाल सफल
नै रर्‍यो ।
अफ्रिकी र एकल महिलाका सन्तानलाई व्याख्या गर्न ‘नराम्ररी हुर्काइएका, अज्ञानी, क्रूद्ध र अवैध’ जस्ता अपमानजनक शब्द प्रयोग गरेका कारण उनी विवादित भए पनि स्पेक्टेटर पत्रिकाको वितरण भने बढ्यो । त्यसको केही समयपछि बीबीसीको टेलिभिजन कार्यक्रम ‘ह्याभ आई गट न्युज फर यु ?’ मा नियमित देखिन थालेपछि उनी बेलायतीमाझ परिचित भए । जसका कारण उनी राजनीतिको मैदानमा उत्रे र सफल पनि भए ।
अक्सफोर्डनजिकैको कन्जरभेटिभ पकड क्षेत्रबाट सन् २००१ मा सांसद चुनिएका जोन्सन त्यसको ६ वर्षपछि लन्डनको मेयर भए । मेयरको दुई कार्यकाल बिताएका जोन्सन सन् २०१२ को ओलिम्पिक खेलका कारण थप परिचत भए । सन् २०१५ को आमनिर्वाचनमार्फत पुनः संसद्मा फर्किएका उनले केही समय ब्रेक्जिटबारे आलटाने नीति अपनाए ।
तर सन् २०१६ को ब्रेक्जिटसम्बन्धी जनमत संग्रहमा पार्टीका नेता तथा प्रधानमन्त्री डेभिड क्यामरुनविरुद्ध उभिएर जोन्सनले बेलायत ईयूबाट बाहिरिनुपर्ने पक्षमा अडान लिए ।
बहिर्गमन पक्षधरले जितेपछि उनी पार्टीभित्र शक्तिशाली भए । आफ्नो मुद्दा पराजित भएको भन्दै क्यामरुनले राजीनामा दिएपछिको चुनावमा भने टेरेजा मे दलकी नेतृ छानिइन् ।
बहिर्गमन अभियानमा ठूलो योगदान पुर्‍याएका जोन्सनलाई मेले विदेशमन्त्री बनाइन् । निकै
हक्की स्वभावका जोन्सनले ईयूसँग वार्ता गर्न प्रधानमन्त्रीले हिम्मत नदेखाएको भन्दै मन्त्रीबाट राजीनामा दिए ।
ब्रेक्जिट पार लगाउन नसकेपछि मेले दलबाट राजीनामा दिएसँगै जोन्सन सन् २०१९ को जुलाई २३ मा दलको नेता छानिए । दलको नेतासँगै प्रधानमन्त्री बनेका जोन्सनले संसद्बाट ब्रेक्जिट प्रस्ताव पारित गराउन नसकेपछि मध्यावधि चुनाव घोषणा गरेका थिए ।
आफ्नो दलका कतिपय नेताले चुनावी कार्ड घातक हुने दाबी गरिरहेका बेला जोन्सनको नेतृत्वमा कन्जरभेटिभ दलले सन् १९८७ यताकै बढी सिट जितेपछि भने आलोचकको मुख
थुनिएको छ ।

Page 9
शैली

प्रेमध्वजलाई लाइफटाइम

नेसनल म्युजिक अवार्ड–२०७६
- कान्तिपुर संवाददाता
रेडियो कान्तिपुरद्वारा शुक्रबार आयोजित नेसनल म्युजिक अवार्डमा गायक प्रेमध्वज प्रधानलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया । त्यस्तै, उत्कृष्ट लोकगीतको अवार्ड ग्रहण गर्दै गायिका सुनीता दुलाल र पिपुल्स च्वाइस अवार्ड लिँदै गायक प्रकाश सपुत (बायाँबाट क्रमशः) । तस्बिर ः संजोग मानन्धर/कान्तिपुर

(काठमाडौं) - रेडियो कान्तिपुरद्वारा शुक्रबार आयोजित नेसनल म्युजिक अवार्डमा गायक प्रेमध्वज प्रधानलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
२१ औं वार्षिकोत्सवका अवसर पारेर रेडियो कान्तिपुरले होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरेको अवार्ड समारोहमा गायक प्रधानलाई १ लाख रुपैयाँ नगद र ताम्रपत्रसहित सम्मान गरेको हो । सात दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका गायक प्रधानले आधुनिक, लोक, भजन, फिल्म र नेपालभाषाका गरी सात सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिइसकेका छन् ।
नेसनल म्युजिक अवार्डमा गतवर्ष आएका गीतहरूमध्येबाट विधागत उत्कृष्टलाई समेत सम्मान गरेको छ । पुरुष पार्श्व गायनतर्फ गायकमा ‘वनकी चरी...’ गीतबाट रुपक डोटेल र गायिकातर्फ ‘जिन्दगी नै...’ गीतबाट प्रविशा अधिकारी उत्कृष्ट बने । यसैगरी, पप गायनतर्फ ‘अलि अलि...’ गीतबाट गायक प्रताप दास र ‘म दामी छु...’ गीतबाट गायिका समृद्धि राई उत्कृष्ट घोषित भए ।
आधुनिक गीततर्फ भने गायक सुमनकुमार श्रेष्ठ ‘जिस्काउँथे...’ गीतका लागि र गायिका संगीता राना प्रधानले ‘सम्झनामा नआऊ...’ बोलको गीतबाट विधागत प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड जितेका थिए ।
लोक गीततर्फको अवार्ड ‘सालको पात टपरी हुने...’ का लागि गायक कुलेन्द विश्वकर्मा र ‘मुखैमा चिनी...’ गीतबाट गायिका सुनीता दुलालले यस वर्षको नेसनल म्युजिक अवार्ड हत्याए ।
पिपुल्स च्वाइस अवार्डतर्फ भने ‘गलबन्दी...’ गीतबाट प्रकाश सपुत र शान्तिश्री परियारले संयुक्त रूपमा अवार्ड ग्रहण गरे । युगल गीतमा ‘कर्के नजर...’ गीतबाट सञ्जीव पराजुली र टीका प्रसार्इंले अवार्ड पाए ।
उत्कृष्ट ब्यान्डको अवार्ड ‘लाहुरे...’ गीतका लागि मन्त्र ब्यान्डले अवार्ड जित्दा उत्कृष्ट संगीत निर्देशकको अवार्ड कर्मा ग्याल्जेन बम्जनको पोल्टामा पर्‍यो । बमजनले ‘बाबाको टोपी...’ गीतका लागि उक्त अवार्ड जितेका हुन् । ‘कस्तो हाल...’ गीतका रचनाकार वीरेन्द्र पाठकले उत्कृष्ट गीतकारको अवार्ड पाउँदा ‘कस्तो दूरी...’ गीतबाट विक्रम बरालले नवगायकको उपाधि जिते । राष्ट्रिय गीततर्फको अवार्ड भने ‘नबिर्स है...’ गीतबाट चितमान गुरुङले प्राप्त गरे ।
सांगितिक क्षेत्रका उत्कृष्ट गायक, गायिका र सर्जकसँगै रेडियो कान्तिपुरले वर्षभरि सबैभन्दा धेरै विज्ञापन दिने उत्कृष्ट तीन विज्ञापन एजेन्सीहरूमा मिडिया सेन्स पहिलो, एड रिलिज दोस्रो र थम्सन नेपाल तेस्रो भएर सम्मानित भए ।
कार्यक्रममको उद्घाटनमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले रेडियो कान्तिपुर निजी क्षेत्रबाट स्रष्टालाई रोयल्टी दिने पहिलो संस्था हुन पाएकोमा खुसी व्यक्त गर्दै यसपटक साबिकको १० रुपैयाँ
रोयल्टी बढाएर १५ रुपैयाँ पुर्‍याइएको घोषणा गरे ।
देशभर ८० प्रतिशत भूभागमा सेवा विस्तार गरेको रेडियो कान्तिपुर झन्डै २५ लाख श्रोताको पहुँचमा रहेको जानकारी दिँदै अध्यक्ष सिरोहियाले रेडियो कान्तिपुरको वेभसाइटलाई परिष्कृत र परिमार्जन गर्दै सामाजिक सञ्जालमा समेत बलियो उपस्थिति जनाउने बताए ।
रेडियो कान्तिपुरका आरजेहरूद्वारा सञ्चालित कार्यक्रममा विभिन्न गायक, गायिकाहरूले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए ।

शैली

‘लेक रहे पो लेकसाइड’

- कान्तिपुर संवाददाता
नेपाल साहित्य महोत्सवको पहिलो दिन बिहीबार ॅलेक रहे पो लेकसाइड’ सेसनको छलफलका सहभागी । तस्बिर ः कान्तिपुर

(पोखरा) - मंसिरको झरी र फेवातालको चिसो सिरेटोलाई बेवास्ता गर्दै साहित्यानुरागी शुक्रबार लेकसाइडमा भेला भए । विद्वान्का प्रवचन सुने । संघीयताको बहसमा सहभागी बने । नेपाल साहित्य महोत्सवको आठौं संस्करणको पहिलो दिन विभिन्न सेसनमा रोचक एवम् बौद्धिक छलफल चल्यो ।
बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा शुक्रबारदेखि तालबाराही चोक लेकसाइडमा महोत्सव सुरु भएको हो । महोत्सवको पहिलो सेसन थियो, ‘लेक रहे पो लेकसाइड’ । यसमा देवेन्द्रराज लामिछाने, किशोर थापा, विश्वप्रकाश लामिछाने र गणेशबहादुर भट्टराईले लेकसाइडबारे आफ्ना भनाइ राखे ।
दीपेन्द्र श्रेष्ठ प्रस्तोता रहेको यो सेसनमा सहभागीले अतिक्रमणमा परेको फेवातालबारे मात्र कुरा उठाएनन्, यसको समस्या समाधानका लागि पनि सरोकारवाला निकायले पहल गर्नुपर्नेमा जोड दिए । फेवातालमा भइरहेको अतिक्रमणबारे उनीहरूले आवाज उठाए, सँगै यसलाई जोगाउनेतर्फ पनि सरोकारवालाले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्नेमा उनीहरूले जोड दिए ।
दोस्रो सेसन थियो, ‘समानताको लडाइँ’ । यसमा चन्द्र भद्रा, भारती सिलवाल गिरी, बिन्दा पाण्डे र अमित ढकालले छलफल गरे । यो सेसनमा महिला आन्दोलनदेखि लोकतन्त्रको प्राप्तिसम्म महिलाका योगदान र समानता आदिका विषयमा चर्चा भयो । महिला हिंसा किन हुन्छ, यो कहाँबाट सुरु हुन्छ र यसमा समाज एवं पारिवारिक भूमिका के कस्तो
रहन्छ भन्नेबारे उनीहरूबीच गहन छलफल भयो ।
महोत्सवको तेस्रो सेसन, हास्यव्यंग्य निबन्धकार भैरव अर्यालमाथि आधारित थियो । ‘हास्यव्यंग्य ः भैरव अर्याल मीमांसा’ शीर्षक सेसनमा गफिए, साहित्यकार अमर न्यौपाने र रोचक घिमिरे । उनीहरूले हास्यव्यंग्य निबन्धको क्षेत्रमा भैरव अर्यालले पुर्‍याएको योगदानबारे चर्चापरिचर्चा गरे । यो सेसनमा भैरव अर्यालले आफ्नो जीवनमा भोग्नुपरेका कठिन अवस्थाबारे पनि उनीहरूले कुराकानी गरे । भैरव अर्यालले स्वेच्छाले मृत्युवरण गरेका विषयबारेका घतलाग्दा प्रसंग पनि छलफलमा आए ।
चौथो सेसन रह्यो, ‘संघीयताको सकस’ । यसमा टीकाराम यात्रीसँग छलफलमा थिए, प्राध्यापक कृष्ण खनाल र संविधानविद् भीमार्जुन आचार्य । नेपालमा संघीयतापछिको अवस्था र यसका सकारात्मक एवं नकारात्मक असरबारे उनीहरूले छलफल गरे ।
पाँचौं सेसन थियो, ‘काव्यिक आन्दोलन’ । यो सेसनमा तीर्थ श्रेष्ठ, मणि काफ्ले, ज्योति जंगल र अक्षर काकाले नेपालमा काव्यिक आन्दोलनका विषयमा समीक्षात्मक अभिव्यक्ति दिए ।

शैली

नेपालभाषा साहित्यको प्रवर्द्धन गर्न माग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपालभाषा साहित्यको गुणस्तर, पुस्तक वितरण प्रणालीदेखि बजार व्यवस्थापनको विषयमा सरोकारवाला पक्षले चासो र चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय नेपालभाषा बोल्नेको संख्या न्यून भएसँगै साहित्यमा परेको प्रभावप्रति साहित्यकारहरूले चासो दिएका हुन् ।
काठमाडौंमा भएको एक कार्यक्रमका सहभागीले नेपालभाषा साहित्यको विकास र प्रवर्द्धनका लागि सरकारी स्तरबाटै ठोस पहल हुनुपर्ने मागसमेत गरे । कार्यक्रममा बोल्दै साहित्यकार वसन्त महर्जनले नेपालभाषाको साहित्य विकास गर्न आन्तरिक छलफल र अन्तरक्रिया आवश्यक रहेको बताए । ‘हाम्रो साहित्य बिक्री गर्न गाह्रो भइरहेको छ,’ साहित्यकार महर्जनले भने । साहित्य विकास गर्न भाषा प्रयोग गर्नेको संख्या बढाएर गुणस्तरमा ध्यान दिनुपर्ने उनको तर्क छ । कार्यक्रममा साहित्यकार राजुराम मुनकर्मीले गजल साहित्यको छन्द, मात्रादेखि अन्य प्राविधिक पक्षको विषयमा चर्चा गरे । उहाँले आफ्नै रचनाको गजलसमेत वाचन गरेका थिए । त्यस्तै, नेपालभाषा सफू सहकारीका अध्यक्ष हरिप्रसाद श्रेष्ठले सहकारीमार्फत नेपालभाषाको साहित्य विकास गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले सहकारीमार्फत साहित्य क्षेत्रमा रुचि राख्ने महानुभावलाई सदस्य बनाएर पुस्तक वितरण, विमोचन, प्रकाशन तथा अन्य तवरले सहकार्य गर्दै आएको बताए । हुन पनि साहित्यप्रति रुचि बढाउन र विकास गर्न केही वर्ष यतादेखि नेपालभाषा सफू बहुउद्देश्यीय सहकारी संस्थाले अभियानै चलाएको छ ।

शैली

रिसाललाई नुरगंगा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नुरगंगा प्रतिभा पुरस्कार गुठीले वरिष्ठ पत्रकार भैरव रिसाललाई नुरगंगा प्रतिभा सम्मान प्रदान गरेको छ । पुर्व प्रधानन्यायधीश सुशीला कार्की, गुठीका अध्यक्ष चुडामणि बन्धुले संयुक्त रूपमा शुक्रबार राजधानीमा दोसल्ला ओढाएर सम्मान प्रदान गरेका हुन् ।

Page 10
समाचार

विमानस्थल २१ घण्टा सञ्चालन छिट्टै

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को धावनमार्ग रिह्याबिलिटेसन (जीर्णोद्धार) को दोस्रो चरण तोकिएको समयभन्दा करिब ६ महिनाअघि सकिने भएको छ । जीर्णोद्धारको काम सक्ने म्याद आगामी मेसम्म रहे पनि तीन साताभित्रमै पूरा हुने नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका एक इन्जिनियरले बताए ।
काम सकिनासाथ धावनमार्ग चौबीसै घण्टा सञ्चालन गर्न सकिने हुनेछ । तर प्राधिकरणले २१ घण्टा विमानस्थल सञ्चालन गर्ने तयारी गरेको छ । अहिले राति साढे ११ देखि बिहान साढे ६ बजेसम्म नोटाम जारी गरेर विमानस्थलमा आवागमन रोकिएको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले धावनमार्गसहित ट्याक्सी–वे, ड्रेनलगायत भौतिक निर्माणको काम तीव्र गतिमा अघि बढाएको छ । ‘अब धावनमार्गको पिच भत्किने, ट्याक्सी–वे भास्सिनेलगायतका समस्या हुँदैन,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘जनवरीदेखि विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउँछौं ।’ भ्रमण वर्ष २०२० लगायतलाई दृष्टिगत गरी ठेकेदार कम्पनीले द्रुतगतिमा काम गरेको उनले बताए ।
भौतिक काम अन्तिम चरणमा पुगेको, ट्याक्सी–वे र धावनमार्गको छेउछाउमा बत्ती राख्न मात्रै बाँकी रहेको महानिर्देशक पोखरेलले बताए । ४० वर्षदेखि मर्मतसम्भार नगरेको धावनमार्ग जीर्णोद्धार गर्न चिनियाँ ठेकेदार कम्पनीले गत चैतमा जिम्मा पाएको थियो । दोस्रो चरणको काम वर्षा सकिएपछि भदौ १५ मा सुरु भएको हो ।

Page 11
अर्थ वाणिज्य

समय थप्दै, ठेक्का लम्ब्याउँदै

- विमल खतिवडा

(काठमाडौं) - २०७२ असारमा ठेक्का सम्झौता भएको त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकको निर्माण अझै सकिएको छैन । चार खण्डमा काम भएको यो सडकका लागि ०७५ मा समय सकिएपछि तीन पटक समय थप भइसक्यो । सुरुको अवस्थामा निर्माण व्यवसायीले बिजुलीका पोल, घर, जग्गा र अदालतको आदेशले ढिलाइ भए पनि अहिले भने सरकारले यथास्थितिमा काम गर्नु भनेर वातावरण मिलाइदिएको वर्ष बितिसक्यो, कुनै पनि सडक सम्पन्न भएका छैनन् ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार अहिलेसम्म यो खण्डको भौतिक प्रगति ९० प्रतिशत छ । ‘निर्माण सुरु गर्दै केही ठाउँमा पिच गरिएको थियो,’ आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले भने । दैनिक करिब १० हजारभन्दा बढी सवारी साधन गुड्ने यो खण्डबाट ओहोरदोहोर गर्दा धुलो, जामले यात्रु सास्ती खेप्न बाध्य छन् । यो बुझेरै प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ४ गते नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यासका क्रममा त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक अविलम्ब सक्न निर्देशन दिएका थिए ।
तर, उनले यो निर्देशन दिइरहँदा जति प्रगति थियो, अहिले पनि त्यत्ति नै छ । सैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको यो सडक खण्ड मात्रै हैन उपत्यकामा ठेक्का सम्झौता भएका धेरैजसो सडकहरूको कथा यस्तै छ । ‘सबै
ठेकेदारहरू पावरको भरमा चलेका छन्, पावरकै भरमा समय थप गर्छन्,’ सडक विभागका एक कर्मचारीले भने, ‘आदेशको भरमा ठेक्का पाउनेले कसरी तोकिएकै समयमा काम सक्छन् ?’ ती कर्मचारीका अनुसार सरकारले निर्माणमा कडाइ गर्ने हो भने तोकिएकै समयमा काम सकिने थियो ।
यसैगरी काम नभएको अर्को सडक हो– त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकको पहिलो खण्डको ठेक्का । यो काम गर्ने जिम्मेवारी बज्रगुरु/बिरुवा/सीएम जेभीले ०७२ असारमै पाएको हो । ३९ करोड २९ लाख ६४ हजार बजेठमा ठेक्का भएको यो खण्डको निर्माण ०७५ कात्तिकसम्म सकिनुपर्नेमा तीन पटक सयम थप गरिसकिएको छ । यस क्षेत्रका अन्य तीन खण्डको भने दुई पटक समय थप गरिएको छ । राजधानी प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको रहेको यो खण्ड ठेक्का भएको लामो समय बित्दा पनि पूरा हुन नसकेको हो । सडक निर्माण लथालिंग बनाइँदा स्थानीयको दैनिक जीवनयापनसमेत प्रभावित बन्न पुगेको छ । यस क्षेत्रका सडकका लागि छुट्याइएको १ अर्ब ५२ करोड ३२ लाख ५१ हजार बजेटमध्ये १ अर्ब २४ करोड ८५ लाख ३६ हजार रुपैयाँ भुक्तानी भने भइसकेको छ ।
काम नगर्ने, समय थपिरहने र भुक्तानी भने लिइरहने यस्तै प्रवृत्ति उपत्यकाका अन्य सडकमा यस्तै छ । लामो समयदेखि अलपत्रजस्तै बनेका सडकको निर्माणमा प्रगति नदेखिएपछि सडक विभागले कडाइ गरिरहेको दाबी गरेको छ । सार्वजनिक रूपमा सूचना प्रकाशित गर्दै विभागले ठेक्का तोड्नेसम्मको चेतावनी दिएको छ । ‘हामीले काठमाडौंका १६ वटा सडकलाई समयमै काम नसक्ने भए किन ठेक्का नतोड्ने भन्दै सूचना निकाल्यौं,’
विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘केहीले तीन हप्ताको समय दिनु, हामी काम गर्छौं, त्यसपछि पनि प्रगति नदेखिए ठेक्का तोड्नु भनेपछि मौका दिएका छौं ।’ कतिपयमा काम भए नभएको विषयमा अध्ययन भइरहेको उनले बताए ।


‘केही ठाउँमा प्रगति राम्रो देखिएको छ, फागुन–चैतसम्म सक्ने देखियो भने ठेक्का तोड्ने कुरा भएन,’ उनले भने, ‘अध्ययन रिपोर्ट आएपछि कति वटालाई समय थप गर्ने र कतिको ठेक्का तोड्ने हो भन्ने निर्णय हुनेछ ।’ चापागाउँ, गोदावरी र चाबहिल खण्डमा प्रगति देखिएको उनले दाबी गरे । ‘अहिलेको परिस्थितिमा सडक विस्तार गर्न सक्ने अवस्थामा हामी छैनौं,’ उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता श्रेष्ठले भने, ‘जनताले आफ्नो जग्गा नदिने, सरकारले घर जग्गाका लागि मुआब्जा नछुट्याउने, अदालतले पैसा नदिई एक इन्च पनि अर्काको जग्गा नछोड भन्ने, यस्तो अवस्थामा कर्मचारीले के गरेर बाटो बनाउने ?’ पिच गर्न तयारी गरेको ठाउँमा पनि स्थानीयबाट अवरोध हुने गरेको उनले बताए ।
‘बलजफ्ती गर्न सक्ने अवस्था छैन,’ उनले भने,
‘ठेकेदारलाई हाम्रो माग गर्न सक्ने ठाउँमा काम गरिदेउ भन्ने हो तर गरिदिँदैनन्, सबै ठेकेदार दूधले नुहाएका छन् भन्ने पनि होइन ।’ खाली भएको ठाउँमा समेत अन्यत्रका घर देखाएर ठेकेदारले काम गरिरहेका छैनन् । समयमै निर्माण क्षेत्रको समस्या समाधान नगरिदिँदा काममा ढिलाइ हुने गरेको उनले बताए । ‘यथास्थितिमा काम गर्ने भन्ने निर्णय सरकारबाट भयो भने काम हुन्छ,’ उनले भने ।
सडक डिभिजन काठमाडौंले मात्र साना–ठूला गरेर ५ सय ठेक्का लगाएको दाबी गरेको छ । ‘ठेक्का तोड्नेबारे सूचना निकाल्यौं । त्यसपछि केही प्रगति भएको देखिन्छ । सन्तोषजनक भने छैन,’ सडक डिभिजन काठमाडौंका सूचना अधिकारी सुदर्शन कार्कीले भने, ‘उच्च तहबाट मूल्यांकन भइरहेको छ, के गर्ने भन्ने निर्णय भइसकेको छैन ।’ उनका अनुसार अधिकांश स्थानमा ठेकेदारकै कारण ढिलासुस्ती भएको छ ।
सबैभन्दा बढी समस्या कपन क्षेत्रको सडकमा छ । यो खण्डको अधिकांश ठेक्का सैलुङ कन्स्ट्रक्सनले नै लिएको छ । यो क्षेत्रको सडकको प्रगति सन्तोषजनक छैन । चाबहिल–जोरपाटी–वाग्मती–साँखु खण्डमा पनि ठेक्का भएको लामो समय बित्दा पनि काम सकिएको छैन । कतै सडक खनेर अलपत्र पारिएका छन् । कतै सडक नै अवरोध हुने गरी ढुंगा, गिट्टी थुपारिएको छ ।

अर्थ वाणिज्य

दूध ६ रुपैयाँ बढ्दा दुग्धवस्तु ५० रुपैयाँ महँगो

सरकारी स्वामित्वमा सञ्चालित डीडीसीले समेत ५० रुपैयाँसम्म बढाएको छ
- राजु चौधरी

(काठमाडौं) - सरकारले दूधमा प्रतिलिटर ६ रुपैयाँ बढाउँदा दुग्धवस्तुको मूल्य भने ५० रुपैयाँले महँगो भएको छ । निजी डेरीहरूले मात्रै हैन सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान (डीडीसी) ले समेत दुग्धजन्य पदार्थमा ५० रुपैयाँसम्म बढाएको छ ।
डीडीसीले दूधको मूल्य भदौ २१ गतेदेखि लागू हुने गरी प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । त्यसलगत्तै निजी डेरी उद्योगहरूले असोज १ गतेबाट दुग्धजन्यवस्तुको मूल्यवृद्धि गरेका हुन् । डीडीसीले पनि कात्तिक २९ गतेदेखि लागू हुने गरी पनिर, घिउ, नौनी, दही, मिठाईलगायतको मूल्य बढाएको छ । डेरी एसोसिएसनका अनुसार पनिरमा प्रतिकिलो ५० रुपैयाँ बढेको छ । नयाँ मूल्यअनुसार एक किलो पनिर खरिद गर्दा ६५० रुपैयाँ तिनुपर्छ । घिउमा प्रतिलिटर ५० रुपैयाँ बढेर ९ सय ५० रुपैयाँ, नौनीमा ५० रुपैयाँ बढेर ८ सय ५० रुपैयाँ पुगेको एसोसिएसनले जनाएको छ । यस्तै दहीमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ । मूल्यवृद्धि गर्ने व्यवसायीहरूले भने यसलाई स्वाभाविक मान्छन् ।
‘१० लिटरको दूधबाट १ किलो पनिर बन्छ,’ एसोसिएसनका महासचिव प्रह्लाद दाहालले भने, ‘दूधको मूल्य बढेपछि दुग्धजन्य वस्तुको मूल्यवृद्धि स्वाभाविक हो ।’ यी वस्तुबाहेक अन्यमा दुग्धजन्य वस्तुमा पनि करिब १० प्रतिशतले मूल्य बढेको एसोसिएसनले जनाएको छ । डीडीसीले पनिरमा निजी डेरीभन्दा बढी मूल्य निर्धारण गरेको छ । यसले ५ सय ग्रामको पनिरको मूल्य ३८५ रुपैयाँ निर्धारण गरेको छ । २ सय ग्रामको पनिरको मूल्य १६० रुपैयाँ तोकेको डीडीसीका बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए । उनले मूल्य डेरी उद्योगकै अनुसार निर्धारण गरेको दाबी गरे । ‘अभाव हुँदा केही बढ्न सक्छ । बिक्री नहुँदा घट्न सक्छ,’ उनले भने, ‘मूल्य डेरी उद्योगअनुसार हो ।’ डीडीसीले पनि घिउ प्रतिकिलो मूल्यमा ९५०, बटरको ८५०, २५० ग्रामको बटरलाई २५० रुपैयाँ मूल्य तोकेको छ ।
फ्रेस मिल्कमा १० रुपैयाँ बढाएको डीडीसीले जनाएको छ । ५० रुपैयाँ पर्ने २ सय एमएल फ्रेस मिल्कको मूल्य बढेर ६० रुपैयाँ, २ सय रुपैयाँ पर्ने मिठाईको बट्टा (१० पिस मिठाई) को मूल्य बढेर २२० रुपैयाँ पुगेको झाले बताए । आधा लिटर प्याकेट दहीको मूल्यमा पनि १० रुपैयाँ बढाएको डीडीसीले जनाएको छ । दूधको मूल्य बढेपछि प्रशोधन खर्च, प्याकेजिङ, प्रशासन, बिक्री खर्चसहित जोडेर मूल्य निर्धारण गरिएको झाको दाबी छ । डेरी उद्योगहरूले मूल्य बढाएपछि खुद्रा व्यापारमा थप २/४ रुपैयाँ बढीमा बिक्री हुन्छ ।
उपभोक्ताकर्मीहरूले भने मूल्यवृद्धि अस्वाभाविक भएको बताउँछन् । दूधको मूल्य बढेको बहानामा सरकारी निकायबाटै उपभोक्ता ठगी भएको उनीहरूको दाबी छ । ‘डीडीसी र डेरी उद्योगले बिक्री गर्ने दूध तथा दहीको गुणस्तर बर्सेनि खस्किँदै गएको छ । खाद्य प्रविधिले गरेको परीक्षणमा डीडीसीकै विरुद्ध करिब आधा दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘दूधको प्रतिलिटर मूल्य देखाएर किलोमै ५० रुपैयाँ बढाउनु ठगी हो ।’ मूल्यको सन्दर्भमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्नुपर्छ । गुणस्तरको हकमा भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गर्नुपर्छ । तर, यी विभाग सुस्त हुँदा उपभोक्ता मूल्यसँगै गुणस्तरमा पनि ठगिएका तिमिल्सिनाको आरोप छ । ‘अनुगमन र कारबाही नहुनु भनेकै मिलेमतो हो,’ उनले भने, ‘आपूर्ति र खाद्य प्रविधिको पनि मिलेमतो देखिन्छ ।’
आइसक्रिमको हकमा सिजन नभएकाले मूल्य वृद्धि नभएको एसोसिएसनको दाबी छ । माघदेखि आइसक्रिमको मूल्य पनि करिब १५ प्रतिशतले बढाउने तयारीमा व्यवसायीहरू छन् । हाल सरकारले दूधको प्रतिलिटर खुद्रा मूल्य ७६ रुपैयाँ निर्धारण गरेको छ । खुद्रा पसलमा किन्नेहरू प्रतिलिटर ८० रुपैयाँ तिर्न बाध्य छन् । तर, मूल्य र गुणस्तर सम्बन्धमा अनुगमन हुन सकेको छैन ।

दूधको खपत २५ प्रतिशत घट्यो
चिसो मौसमसँगै दुग्धजन्य पदार्थको खपतमा कमी आएको छ । एसोसिएसनका अनुसार दही, आइसक्रिमलगायतको बिक्री न्यून छ । दूधको मात्रै प्रयोग हुँदा बजारमा दूधको खपतमा कमी भएको हो । ‘दही बिक्री नहुँदा दूधको खपतमा करिब २५ प्रतिशतले घटेको छ,’ उनले भने । व्यवसायीका अनुसार दूधको उत्पादन औसतमा दैनिक ६२ लाख लिटर हो ।
उत्पादित दूधमध्ये करिब ५० प्रतिशत किसान आफैंले उपभोग गर्छन् । बाँकी ३१ लाख लिटर दूधमध्ये १७ प्रतिशत औपचारिक र ३३ प्रतिशत अनौपचारिक माध्यमबाट बिक्री हुन्छ । अनौपचारिक रूपमा बिक्री हुने दूध होटल, घर तथा प्याकेजिङबिनै बिक्री हुन्छ । औपचारिक रूपमा बिक्री हुने दूधमा करिब २५ प्रतिशतले कमी आएको हो । हाल नेपालमा करिब २ सय डेरी उद्योगहरूले औपचारिक रूपमा दूध बिक्री गर्दै आएका छन् । करिब २ हजार डेरीले अनौपचारिक रूपमा बिक्री गर्दै आएको महासचिव दाहालको दाबी छ ।

Page 12
अर्थ वाणिज्य

अलैंची मासेर धान रोप्ने तयारी

- कुम्भराज राई

(ओखलढुंगा) - खिजिदेम्बा गाउँपालिका साब्राका डम्बरबहादुर खड्काले १० मुरी धान फल्ने खेत मासेर अलैंची लगाए । अलैंचीले पहिलो साल राम्रै उत्पादन दियो । प्रतिकिलो २ हजार ४ सयले बिक्री गरे । आम्दानी राम्रै दिने देखेपछि अरू खेत पनि मासेर अलैंची रोपे । तर, दोस्रो साल उत्पादन घट्यो । उत्पादन घटेसँगै बोट पहेंलो हुने र मर्ने रोग देखापर्‍यो । त्यति नै बेला अलैंचीको मूल्य पनि स्वात्तै घटेर प्रतिकिलो ५५० मा झर्‍यो ।
रावादोलुका धनबहादुर बस्नेतले पनि सबैले अलैंचीबाट आम्दानी गरेको देखेपछि तीन पाथी बीउ जाने धान खेतमा अलैंची रोपे । तर, न उत्पादन राम्रो भयो, न त मूल्य पाए । ‘अलैंची टिप्नका लागि एक जना कामदारलाई प्रतिदिन हजार रुपैयाँ ज्याला दिएर टिप्न लगाएँ ।’ धनबहादुरले भने, ‘एक जनाले बढीमा एक दिनमा दुईदेखि तीन किलो अलैंची टिप्छ । अनि अलैंची ५ सय रुपैयाँ किलोले बेच्दा लगानी पनि उठेन ।’
खिजिदेम्बा गाउँपालिका क्षेत्रमा मात्रै ५ सयभन्दा बढी किसानले अलैंची खेती सुरु गरे । सात वर्षअघि सुरु भएको अलैंची खेती यसरी विस्तार भयो कि किसानले धान फल्ने खेत मासेर रोपे । सुरुसुरुमा राम्रै उत्पादन र बजार मूल्य पाएका उनीहरू अहिले भने पछुताएका छन् । ‘अब फेरि अलैंची मासेर धान नै रोप्ने तयारीमा छु ।’ डम्बरबहादुरले भने, ‘अलैंचीभन्दा धानमै फाइदा रहेछ ।’
अलैंची लगाएपछि सबै खेतमा सबै उत्तिसका बोट फैलिएका छन् । अब ती रुखबिरुवा काटेर धान रोप्ने अवस्थाको खेत निर्माण गर्न निकै चर्को भएको स्थानीय टेकबहादुर खड्काले बताए । ठेकेदार समयमा नआएपछि उत्पादित अलैंची बेच्न गाह्रो भएको उनले बताए । कतिपयले घरघरमै अलैंची भण्डारण गरेर राखेका छन् । कतिपयले भाउ बढ्छ कि भन्ने आशाले पनि भण्डारण गरेका हुन् ।
अलैंचीमा लाग्ने रोगको विषयमा पनि सम्बन्धित सरकारी कार्यालयले खासै चासो दिएर समस्या समाधानमा पहल नगरेको स्थानीय तिलक गुरुङले बताए । ‘हामीले पनि उचित पहल गर्न सकेनौं होला । राज्यका निकायले पनि किसानको समस्या सम्बोधन गर्न चाहेनन् ।’ गुरुङले भने, ‘जसो गर्दा पनि आखिर किसान मारमा परे ।’
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत हेमकुमार आलेले जिल्लाभरिकै अलैंची कृषकको अलैंचीको गानोमै संक्रमण हुने किसिमको रोग लागेको बताए । तर, समाधानको उपाय भए पनि सबैतिर समाधानको काम नभएको बताए । केन्द्रका अनुसार खिजिदेम्बा गाउँपालिका र सिद्धिचरण नगरपालिका क्षेत्रमा अलैंचीको खेती किसानले गर्दै आएका छन् ।

अर्थ वाणिज्य

डीपीआर र मुआब्जामै अलमल

नलगाड जलविद्युत् आयोजना
- भीमबहादुर सिंह

(जाजरकोट) - नलगाड जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया थालिएको तीन दशक बिते पनि गति लिन सकेको छैन । पछिल्लो समय विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र जग्गाको मुआब्जा विवादले आयोजनालाई अलमल्याएको छ । अस्ट्रेलियाको स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्सल्टेन्सी कम्पनीले जेभीमा ३० महिनामा काम सक्ने गरी डीपीआरको जिम्मा लिएका थिए । सम्झौता भएको ४२ महिना बिते पनि काम अधुरै छ । कम्पनीका अनुसार डीपीआरका लागि १ अर्ब ११ करोडमा सम्झौता भएको थियो । कम्पनीका इन्जिनियर पदम थापाले निर्धारित समयमा काम हुन नसकेपछि ९ महिना म्याद थपिएको बताए । ‘थपिएको म्याद पनि सकिएको छ तर प्रतिवेदन तयार भइसकेको छैन,’ उनले भने ।
थपिएको म्याद पनि गुज्रिएपछि ठेकेदार कम्पनीले असोजदेखि हर्जाना तिर्दै आएको उनले बताए । परामर्शदाता कम्पनीले डीपीआरअर्न्तगत ड्याम डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन, टोपो सर्भे, भौगर्भिक सर्भे, ड्रिल कार्य र ४ सय केभी प्रसारण लाइन सर्भेको काम सम्पन्न गरिसकेको छ । टेस्ट अडिट, पावरहाउस डिजाइन र अन्तिम प्रतिवेदनलगायत कार्य हुन नसक्दा डीपीआरले पूर्णता पाउन नसकेको थापाले बताए । उनका अनुसार विगतमा बजेट अभावको कारण निर्माणमा ढिलाइ भएको थियो । अहिले बजेट पर्याप्त भए पनि कामको जिम्मा लिएको कम्पनीको ढिलासुस्तीले अवरोध भइरहेको छ । अर्कोतर्फ कम्पनीले जग्गाधनीलाई मुआब्जा दिई जग्गा अधिग्रहण गर्न सकेको छैन । कम्पनीले ६ वर्षअघि नै जग्गा अधिग्रहण सुरु गरेको थियो । आयोजनाका लागि ६ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ । आवश्यकताको ८० प्रतिशत जग्गा अधिग्रहण नगरी निर्माण चरणमा जान नमिल्ने कानुनी प्रावधान छ । कम्पनीका अनुसार हालसम्म करिब १५० रोपनी मात्र अधिग्रहण भएको छ ।
सरकारले चालु आर्थिक वर्षमा मुआब्जा वितरणका लागि २ अर्ब ७२ करोड रुपैयाँ छुट्याएको छ । सरकारले ४ वर्षअघि प्रतिरोपनी ४ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरेको थियो । त्यतिबेलाको मूल्यांकनअनुसार विनियोजित बजेटले करिब ५ हजार ७ सय रोपनी जग्गा अधिग्रहण गर्न सकिन्छ । अहिले भने स्थानीयले प्रतिरोपनी ६ लाख ५० हजार माग गर्दै मुआब्जा बुझ्न मानिरहेका छैनन् । नलगाड जलविद्युत् सरोकार समितिका सचिव बिनबहादुर सिंह भन्छन्, ‘सरकारले स्थानीयको कुरा सुनेर छिटोछरितो रूपमा मुआब्जा वितरण गर्नतिर ध्यान दिएको छैन । यस्तै अवस्था रहने हो भने नलगाड पनि पश्चिम सेती र माथिल्लो कर्णालीकै हालतमा पुग्न सक्छ ।’ डीपीआर निर्माणमा ढिलाइ मात्र होइन, हेलचेक््रयाइँ पनि भइरहेको स्थानीयको आरोप छ । प्रभावित क्षेत्रका गाउँबस्तीको सुरक्षित व्यवस्थापन, मुआब्जा तथा क्षतिपूर्ति, शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता अवसरको अध्ययन, पूर्वाधार निर्माण, सुकुम्बासी व्यवस्थापनजस्ता मुख्य मुद्दाको पूर्ण रूपमा अध्ययन नै नगरी प्रतिवेदन आउन लागेको बारेकोट गाउँपालिका–८ सेपुखोलाका वेदराज सिंहले बताए । ‘अर्बौं रुपैयाँमा बन्न लागेको आयोजनाको डीपीआर हचुवाको भरमा बनिरहेको छ,’ उनले भने, ‘यसले आयोजनाको निर्माण र दिगोपनामा थुप्रै प्रश्न उब्जाएको छ ।’
यही अलमलबीच स्थानीयले जलविद्युत् कम्पनीसँग १६ बुँदे मागपत्र पेस गरेका छन् । नलगाडलाई राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्ने, वातावरणीय प्रभाव मूल्याकनको मस्यौदामा छुटेका मानवीय जीवनसँग जोडिएका विषयवस्तुलाई समावेश गर्नुपर्ने, स्थानीयलाई २० प्रतिशत सेयर वितरण गर्नुपर्ने, जलाशयको अन्तिम घेरा (१५९० मिटर उचाइ) भन्दा माथिका गाउँबस्तीको सुरक्षा योजना र उचित मुआब्जाको व्यवस्था गर्नुपर्नेलगायत माग राखिएका छन् । सरकारले नलगाड जलविद्युत् निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई आग्रह गरेको छ । आयोजना निर्माणका लागि १ खर्ब २३ अर्ब बजेट लागत अनुमान गरिएको छ । वातावरणीय व्यवस्थापनमा मात्र ५६ अर्ब खर्च हुने अनुमान गरिएको इन्जिनियर थापाले बताए । उनका अनुसार ४१७ मेगावाट क्षमताको आयोजना निर्माणकार्य सुरु भएको करिब ७ वर्षभित्र सञ्चालनमा आउनेछ ।
एक साताअघि आयोजना अनुगमन गर्न जाजरकोट आइपुगेका ऊर्जामन्त्री वर्षमान पुनले आयोजना प्रभावित क्षेत्रका बासिन्दासँग छलफल गरेर मुआब्जालगायत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आयोजना अघि बढाउन जाइकासँग छलफल भइरहेको र छिट्टै द्विपक्षीय सम्झौता हुने बताए । अनुगमनकै क्रममा जिल्लावासीसमेत रहेका वनमन्त्री शक्तिबहादुर बस्नेतले मुआब्जाको विषयमा
अड्को नथाप्न स्थानीयलाई आग्रह गरे । उनले आयोजना निर्माणपछि यहाँको गरिबी अन्त्य हुने र युवाले रोजगारी पाउने बताए ।

अर्थ वाणिज्य

सीमावर्ती बजारमा भारु चल्ती बढ्यो

- कान्तिपुर संवाददाता

काँकडभिट्टा (कास)– दसैं–तिहारताका सीमावर्ती बजारका सर्वसाधारणले हजार भारु साट्न ३० रुपैयाँसम्म अतिरिक्त शुल्क (बट्टा) तिर्नुपर्थ्यो । राष्ट्र बैंकले सय रुपैयाँ साटेबापत ४० पैसा मात्रै सेवा शुल्क लिन सटही काउन्टरहरूलाई इजाजत दिएको छ । सटही काउन्टरहरूले बैंकको निर्देशन लत्याउँदै बढी बट्टा लिएर रकम साट्दै आएका थिए । यतिबेला भने सीमावर्ती बजारमा भारतीय रुपैयाँ अत्यधिक चल्तीमा छ । जसका कारण भारु सस्तिएको छ । ‘अस्ति भर्खरै नेपालीबाट भारु साट्न बट्टा तिर्नुपरेको थियो,’ बिर्तामोडका समीरकुमार राजवंशीले भने, ‘अहिले भारु छेलोखेलो छ, बरु नेरुको पो अभाव छ ।’
नेपाल राष्ट्र बैंकका कर्मचारी दिपेन बरालका अनुसार अहिले भारुको माग पनि खासै छैन । विगतमा दैनिक ४ लाख साट्ने बैंकलाई अहिले २ लाख साट्न पनि गाह्रो छ । ‘भारु सस्तो भएकाले बैंकमा साट्न आउनेको संख्या घटेको छ,’ बरालले भने । बैंकले प्रतिव्यक्ति मासिक ४ हजार भारु वितरण गर्दै आएको छ । मेची मनीचेन्जर व्यवसायी संघका अध्यक्ष विष्णु मैनालीले विगतको तुलनामा भारुको ‘फ्लो’ ह्वात्तै बढेकाले सस्तिएको बताए । स्रोतका अनुसार पछिल्लो समय नेपालबाट तस्करी बढेका कारण भारु मनग्ये भएको हो ।

अर्थ वाणिज्य

महिन्द्राको नयाँ सोरुम

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अग्नि ग्रुपले रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्र्याक्टरसहितका सवारी साधनको नयाँ ‘थ्रीएस सेटअप’ सहितको सोरुम सञ्चालनमा ल्याएको छ । महिन्द्राको आधिकारिक विक्रेता रहेको अग्नि ग्रुपले हालै सञ्चालनमा ल्याएको नयाँ सोरुमले महिन्द्राका ग्राहकलाई सहज हुने कम्पनीले बताएको छ । 

अर्थ वाणिज्य

पोखरा लिगको रेस पार्टनरमा टीभीएस

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पोखरा प्रिमियर लिग (पीपीएल) का लागि टीभीएसका मोटरसाइकल तथा स्कुटरका आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचे सिरिजको रेस पार्टनरका रूपमा रहने भएको छ । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवाल र पीपीएलका प्रबन्ध निर्देशक छुम्बी लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । पोखरा लिग शुक्रबारदेखि पुस १२ गतेसम्म चल्नेछ । 

अर्थ वाणिज्य

एनआईसी र फुडमान्डुबीच सम्झौता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनआईसी एसिया बैंक र फुडमान्डुबीच बैंकले उपलब्ध गराएको डिजिटल प्रविधिमार्फत भुक्तानी संकलन गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार कुनै पनि बैंकका ग्राहकले फुडमान्डुबाट इच्छाइएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । यो सम्झौतासँगै सीमित अवधिका लागि एनआईसी बैंकलगायत अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले फुडमान्डुबाट खानेकुरा अर्डर गरीे क्यूआर कोडमार्फत भुक्तानी गर्दा २५ प्रतिशत ४ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र फुडमान्डुका प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरकेका थिए ।

अर्थ वाणिज्य

सोनमको उत्पादनमा ६० प्रतिशतसम्म छुट

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सोनाम ब्रान्डले जाडो महिनाका लागि आफ्नो उत्पादनमा ६० प्रतिसतसम्म छुट दिने भएको छ । यो छुट सोनामको शाखाबाट लिन सकिने बताएको छ । 

अर्थ वाणिज्य

महिला उद्यमी सहुलियत कर्जा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकले संयुक्त आयोजना गरेका महिला उद्यमीका लागि सहुलियत कर्जासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले मुलुकभित्र महिला उद्यमशीलता विकास विस्तार गर्न वित्तीय संस्थाको सहयोग चाहिने बताए । उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले बैंकले उद्यमी व्यवसायीलाई उपलब्ध गराउने बैंकिङ कर्जा तथा सहुलियतका विषयमा हातेपुस्तिका प्रकाशन गर्ने बताएकी थिइन् ।

Page 13
समाचार

मुगालीका ती दिन

एक माना चामल र एक बट्टा घिउ बोकेर सिँजा पुगी निगालोको कलम, भोजपत्रको कापी र जडीबुटीको रस निकालेर मसी बनाई पढ्ने जमाना थियो । कर्णाली नदीमा पुल थिएन, बाबियाको डोरीमा तागुलो लगाएर वारिपारि गरिन्थ्यो ।
- राजबहादुर शाही
मुगुको खत्याड गाउँपालिकाको गम्था गाउँका ७० वर्षीय गौरी उपाध्याय खेतको डिलमा बसेर ताखु कात्दै । तस्बिर ः राजबहादुर/कान्तिपुर

(मुगु) - ट्वाइके रोकायाले ६० वर्षसम्म कष्टकर जीवन बिताए । छायानाथ रारा नगरपालिका–९, मुर्मा गाउँका ८१ वर्षीय उनलाई तन्नेरी छँदा १० किलो नुन, लत्ताकपडा र भाडावर्तन किन्न एक महिना हिँडेर बर्दियाको राजापुर र चिसापानी पुगेको अझै सम्झनामा छ ।
‘धेरै दुःख भोगियो,’ उनी भन्छन्, ‘गाउँमा सबै सुविधा आएको देख्दा सपनाझैं लाग्छ ।’ अहिले उनको घर अगाडिबाटै मोटर गुड्छ, बाहिर रहेका आफन्तसँग भिडियो कलमै कुराकानी गर्छन् । बुढ्यौलीसँगै बिमारीले घेर्न थालेपछि मात्रै सुखका दिन देख्न पाउँदा नमज्जा पनि लाग्छ । उनले चाँदीका सिक्का बोकेर सामान किन्न हाट गएको सम्झिए । ‘एक सय चाँदीका सिक्का खर्च गरे बोक्न नसक्ने भारी हुन्थ्यो,’ उनले भने, ‘खुट्टामा लगाउने पौला (जुत्ता) थिएनन्, नाङ्गै खुट्टा हिँडेर एक महिनामा राजापुर पुग्थ्यौं ।’ १२ वर्षको उमेरैदेखि नै हाट जाने गरेको उनले सुनाए । उनले केही समय भेडा र खसी लिएर तिब्बतको तालाखार पुगी ऊन र नुन ल्याए ।
रोकायाका अनुसार गाउँमा एक माना नुन पाउन निकै मुस्किल थियो । ‘पुल नहुँदा कर्णाली नदी पार गर्न बाबियाको डोरीमा तागुलो लगाएर वारिपारि गर्थ्यौं,’ उनले उतिबेलाको समस्या सुनाए, ‘भगवान्को नाम जप्दै जंघार तरिन्थ्यो ।’
रुगा गाउँका ७४ वर्षीय धनजित लावडको दुःख पनि कहालीलाग्दो छ । ०४५ सालमा भोकमरीको चपेटामा पर्दा उनलाई अब धेरै बाँचिँदैन जस्तो लागेको थियो । जग्गामा अन्न नफल्दा साँझबिहानको छाक कसरी टार्ने भन्ने चिन्ताले दैनिक सताउने गरेको उनी बताउँछन् । ‘उहिलेको कहालीलाग्दो भोमकरीको दुःख सम्झिँदा अहिले पनि आँखाबाट आँसु झर्छ,’ उनले भने, ‘२० दिन हिँडेर अछामको साँफेबगर पुगेर ३० किलो चामल र पाँच पाथी गहुँ ल्याएर परिवार पालियो ।’ उनले सहरका सबै सुविधा गाउँ पुगेपछि बाँच्न सहज भएको सुनाए ।
सुविधासँगै तन्नेरी पुस्ता बिग्रन थालेको लावडले गुनासो गरे । ‘सुविधाले सबैको बानी बिग्रियो, पढेलेखेका युवाले खेतीपाती गर्न छाडे,’ उनी भन्छन्, ‘जाँडरक्सी खाएर झगडा गर्ने, पैसा जथाभावी फाल्ने फुर्मासे बानी बढ्यो ।’ उनले केही वर्ष कर्णालीका माछा र सिस्नो खाएर भोकमरी टारेको जनाए । उनका अनुसार कोदो र कागुनो उत्पादन हुन थालेको ३० को दशकपछि मात्र हो ।
जिल्लाका अधिकांश बस्तीमा ०५० सालअघिसम्म ढोका थुन्ने गरी हिउँ पर्ने गरेको बूढापाका सुनाउँछन् । ०४० सालअघि एक पाथी अन्नमा कुखुरा, दुई सय रुपैयाँमा खसीबाख्रा र पाँच सय रुपैयाँमा गाईभैंसी पाइने गरेको खत्याड गाउँपालिकास्थित गम्था गाउँका गौरी उपाध्यायले बताए । कार्कीबाडाका ६८ वर्षीय देवीकृष्ण रावलले जुम्लाको सिँजा गई कखरा सिकेको बताए । उनका अनुसार गाउँका पुरोहितलाई गुरु मानेर शिक्षा लिने जमाना थियो । ‘एक माना चामल र एक बट्टा घिउ बोकेर सिँजा पुगी नाम लेख्न सिकेको हुँ,’ उनले भने, ‘निगालोको कलम, भोजपत्रको कापी र जडिबुटीको रस निकालेर मसी बनाई पढ्ने जमाना थियो ।’ उनले ००९ सालमा छत्यालबाडा गाउँमा पहिलो पाठशाला खुलेपछि हुनेखानेका छोराछोरीले पढ्न थालेको जानकारी दिए । ०११ सालमा रारा हुटुमा जिल्लामै पहिलो प्राथमिक विद्यालय खुलेको हो । ०४८ सालमा मुगुका हस्तबहादुर मल्ल शिक्षा राज्यमन्त्री हुँदा दुई सय १९ बस्तीमा विद्यालय खुलेपछि विपन्न र दलित समुदायका बालबालिकाले पठनपाठन सुविधा पाएका हुन् । गमगढीमा रारा बहुमुखी क्याम्पस स्थापना भएपछि उच्च शिक्षा पढ्न सुर्खेत र नेपालगन्ज जानुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन् ।
जिल्लामा ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकले ६ दशक दुःखकष्टमै बिताए । गाउँमा झाडापखाला चल्दा बर्सेनि एक दर्जन बढीको ज्यान जाने गरेको लावडले बताए । ‘विरामीले थला परे भूत लागेको भन्दै उसको नजिक नजाने जमाना पनि भोगियो,’ उनी भन्छन्, ‘अहिले गाउँगाउँमा स्वास्थ्यचौकी खुले, धेरैको ज्यान बचेको छ ।’ ०६३ सालमा गमगढीमा १५ शय्याको अस्पताल सञ्चालनमा आएपछि जिल्लाको स्वास्थ्य अवस्था सुध्रिएको हो । ०६० सालअघि स्थानीयलाई सुर्खेत र नेपालगन्ज जान जहाज चढ्नकै लागि दुई दिन हिँडेर जुम्ला पुग्नुपर्ने बाध्यता थियो । ‘हिँडेर जानेहरू १५ दिन पुग्ने खाद्यान्न पोको पारेर जुम्लाको सिँजा हुँदै सुर्खेत र नेपालगन्ज पुग्थ्यौं,’ उपाध्यायले भने, ‘खानेकुरा बाटोमा सकिए बाटोमै ज्यान जान्थ्यो ।’ अहिले ताल्चा (रारा) विमानस्थलबाट दैनिक पाँचवटासम्म उडान भइरहेका छन् ।
स्थानीयलाई ०६८ अघि पाँच किलो चामल र एक किलो नुन किन्न दिनभर गोदाममा लाइन बस्नुपर्ने बाध्यता थियो । कर्मचारीले कार्यालय प्रमुखबाट र स्थानीयले प्रमुख जिल्ला अधिकारीबाट रासनकार्ड बनाएपछि मात्र चामल र नुन पाइन्थ्यो । ०६९ साल पुसबाट मुगु राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि स्थानीयले खाद्यान्न अभावको समस्याबाट मुक्ति पाएका हुन् । ‘सडक नपुग्दासम्म सुर्खेत र नेपालगन्जबाट हेलिकप्टरमा प्रतिकिलो एक सय २० रुपैयाँ भाडा तिरेर सामान ल्याएर बेच्थ्यौं,’ उद्योग वाणिज्य संघका कोषाध्यक्ष जयबहादुर शाहीले भने, ‘गाडी पुगेपछि नेपालगन्जबाट प्रतिकिलो ७ रुपैयाँमा सामान गमगढी पुग्न थालेको छ । सडकले गर्दा जिल्लामा तीन तिहाइ महँगी घटेको उनले सुनाए । सोरु गाउँपालिकास्थित सीप गाउँकी जानसरा विष्टले गाडी हेर्न दुई दिन हिँडेर सदरमुकाम गएको सम्झिन् । ‘गाउँमा गाडी पुग्लान् भन्ने सपना पनि थिएन,’ उनले भनिन्, ‘सुख र सुविधा पुगेपछि पुराना दुःख भुल्दै गएका छौं ।’ अहिले सोरु गाउँपालिकाको सोरुकोट, खत्याड गाउँपालिकाको गम्था, सेरी, श्रीकोट, खमाले र मुगुमकार्मारोङ गाउँपालिकाको छाइलसम्म नियमित यातायातका साधन चल्छन् ।
अहिले जिल्लाभरिका खोला र कर्णाली नदीमा परम्परागत तुइन विस्थापित गरी ६१ झोलुंगे पुल निर्माण भएका छन् । गाउँहरूको आपसी सम्बन्ध पुलकै कारण जोडिएको आरसिडी संस्थाका कार्यक्रम संयोजक जर्मन नेपालीले बताए । घरमै सुत्केरी हुँदा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यतबाट गर्भवती महिलाले मुक्ति पाएको जिल्ला अस्पताल प्रमुख डा. निर्मल नगरकोटीले बताए । उनका अनुसार अहिले करिब
९० प्रतिशत गर्भवती महिला स्वास्थ्यचौकीमै सुत्केरी हुने गरेका छन् । उनका अनुसार जिल्लाभरि २० प्रसूतिगृह सञ्चालनमा छन् ।
कुनै समय एक कल फोन गर्न गमगढी बजार धाउने स्थानीयले घरमै बसी मोबाइलमार्फत आफन्तसँग घण्टौं कुरा गर्न पाएको स्थानीय जंगम शाहीले बताए । उनका अनुसार ०६४ सम्म एक कल फोन गर्न एक साताअघि नै नाम लेखाउनुपर्ने बाध्यता थियो । नेपाल टेलिकमले जिल्लाका १३ स्थानमा मोबाइल टावर जडान गरिएको जनाएको छ । अहिले राराताल आसपासका क्षेत्रमा फोरजी इन्टरनेट चल्छ ।
गाउँमै रोजगारी पाइन थालेपछि पछिल्लो समय मजदुरीका लागि भारतको कालापहाड जानेको संख्या घटेको शाही बताउँछन् । ‘एक दशकअघिसम्म १६ वर्ष पुगे कालापहाडमा मजदुरी गर्न नगई सुखै थिएन,’ उनले भने, ‘गाउँमै विकास निर्माण बढेपछि मजदुरी गर्ने मान्छे पाउनै मुस्किल छ ।’ उनका अनुसार डेढ दशकअघिसम्म अधिकांश गाउँ पुरुषविहीन हुन्थे । गाउँगाउँमा लघु जलविद्युत् सञ्चालन भएपछि सल्लाको दियालो बालेर अँध्यारो हटाउने बाध्यताबाट स्थानीयले मुक्ति पाएको स्थानीय मानबहादुर रावलले जनाए । उनका अनुसार घरघरमा सौर्य ऊर्जा जडान गर्ने र आधुनिक चुलो प्रयोग गर्नेको संख्या बढिरहेको छ ।
लामो समय दुःख बिताएका ज्येष्ठ नागरिक सुरक्षा भत्ता पाउन थालेपछि सहज जीवन बिताउन थालेका छन् । ‘भत्ताले बाँच्न र औषधिउपचार गर्न सजिलो भयो,’ छायानाथरारा नगरपालिकास्थित ढुमकी ७६ वर्षीया चाखुल्ली विकले भनिन्, ‘गाउँगाउँमा सुविधा थपिए, सुखका दिन बढ्दै छन् ।’ सरकारले ६० देखि ७० सम्मका ज्येष्ठ नागरिकलाई दुई हजार र ७० भन्दा माथिकालाई तीन हजार रुपैयाँ सुरक्षा भत्ता दिँदै आएको छ ।

समाचार

रोहिंग्यालाई हट्न सातदिने म्याद

- कान्तिपुर संवाददाता

(काभ्रे) - म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई सात दिनभित्र छाड्न जग्गाधनीले अल्टिमेटम दिएका छन् । मंसिर १० गते कुशादेवी आइपुगेका उनीहरू सत्यराम थापाको जग्गामा छुट्टाछुट्टै टहरा बनाएर बसेका छन् ।
उनीहरू आएको तीन दिनपछि मात्र शरणार्थी हुन् भन्ने थाहा पायौं । काम गर्ने अनुमति पनि छैन रहेछ । नेपालले शरणार्थी स्वीकार नगरेको समेत थाहा पाएपछि हट्न भनिसकेका छौं,’ सत्यरामको भनाइ उद्धृत गर्दै उनका भतिज रामेश्वरले भने ।
त्रिविका एक प्राध्यापकमार्फत रोहिंग्याहरू सत्यरामको सम्पर्कमा पुगेका थिए । खाली जग्गा भाडामा लाग्दा पैसा आउने भएपछि बस्न अनुमति दिएको रामेश्वरले बताए । उनीहरूसँग भाडालगायत विषयमा सहमति भएको छैन ।
रोहिंग्याका टोली नेता महोम्मद यसुपले टहरा निर्माणका लागि ६ लाखभन्दा बढी खर्च भइसकेको र बस्ने अर्को विकल्प पनि नभएको बताए । ‘यतिका संरचना बनाइसक्यौं, अहिले केके कुराले अप्ठ्यारो भयो भनेर हट्न भन्न थाल्नुभएको छ,’ यसुपले भने, ‘आफ्नो देश हैन, आफ्नो ठाउँ हैन, कहाँ जाने, के खाने केही टुंगो छैन ।’ नेपालले शरणार्थी मान्यता नदिए पनि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर) बाट शरणार्थी प्रमाणित उनीहरू काम नपाउने भएपछि अप्ठ्यारोमा परेको बताउँछन् । ‘यूएनएचसीआरले भत्ता दिन पनि छाड्यो, काम गर्न पनि दिँदैन, नेपाली जनताले काम त दिएका छन्, जसरी पनि आफ्नो पेट त पाल्नुपर्‍यो,’ यसुपले भने, ‘बस्न र काम गर्न पनि नदिने हो भने यूएनएचसीआरको गेटमा गएर धर्ना दिन्छौं ।’ यूएनएचसीआरले सन् २०१५ सम्म भत्ता दिन बन्द गरेपछि रोहिंग्याहरू अवैध रूपमा काम गर्दै आएका छन् । कुशादेवीमा ९० जना अट्ने गरी संरचना निर्माण भएको छ । कपनको लसुनटारबाट सरेर कुशादेवीमा बस्न थालेका उनीहरूले प्रतिपरिवार ७० हजार रुपैयाँ उठाएका थिए । यहाँ १३ पुरुष, ९ महिला र १२ बालबालिका छन् ।
रोहिंग्याहरूले जिल्ला प्रशासन कार्यालय, पनौती नगरपालिका र वडा कार्यालयमा शान्ति सुरक्षाका लागि भन्दै निवेदन दिएका छन् । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले शान्ति सुरक्षाका लागि मात्रै आफूले सघाउन सक्ने बताए । ‘जग्गा भाडामा लगाउने वा नलगाउने कुरा धनीको कुरा हो, हामीले केही भन्न मिल्दैन,’ उनले भने, ‘शरणार्थीहरूले कानुनी रूपमा काम गर्न मिल्दैन ।’

समाचार

किशोरीले मुख्यमन्त्रीसँग भने ‘बिहे रोकिदिनुस्’

- अमृता अनमोल

(बुटवल) - लुम्बिनी सांस्कृतिक नगरपालिकाकी १६ वर्षीया पुष्पा हरिजन ११ कक्षाकी छात्रा हुन् । छोरीको बिहे गरिदिने सुरमा अभिभावक छन् । पुष्पा विवाह गर्न मानिरहेकी छैनन् । अभिभावकको कुरा नमान्दा उनी दुर्व्यवहार सहन बाध्य छिन् । पुष्पालगायत प्रदेश ५ का धेरै किशोरी बिहीबार मुख्यमन्त्री शंकर पोखरेललाई भेट्न यहाँ आए । ‘घरभित्रै असुरक्षित छु । मेरो सुरक्षा कसले गर्छ,’ मुख्यमन्त्रीसित पुष्पाले भनिन, ‘बिहे गर्न नमान्दा बुबा र दाजुले कुट्नुहुन्छ । आफन्तले गाली गर्छन् ।’ उनले मुख्यमन्त्री पोखरेललाई शरीरका नीलडाम देखाइन् । ‘यी घाउ निको होलान्,’ उनले भनिन्, ‘मैले भोगेको पीडामा कमी छैन ।’
बाँकेको खजुराकी १४ वर्षीया चेतना केसी १० कक्षामा पढ्छिन् । भविष्यमा चिकित्सक बन्ने धोको सुनाइन् । बुबाआमा उनलाई पढाउन मान्दैनन् । बिहेको तयारीमा छन् । ‘म पढ्न चाहन्छु,’ उनले सुनाइन्, ‘मेरो बिहे रोकिदिनुस् ।’ चेतनाकी साथी मीना पासीको गत वर्ष १५ वर्षको उमेरमा विवाह भयो, लगत्तै गर्भवती भइन् । बच्चा जन्माउन नसकेर केही महिनाअघि उनको मृत्यु भएको चेतनाले बताइन् । ‘त्यही घटना सम्झेर डराउँछु,’ उनले भनिन्, ‘त्यसैले विवाह गर्न चाहन्नँ ।’ खजुराकै गीता मिश्रको १४ वर्षमै बिहे भयो । १५ वर्षमा पतिको घर गइन् । त्यहाँ पाएको यातना सहन नसकेर झुन्डिएर आत्महत्या गरेको चेतनाले सुनाइन् । ‘मुख्यमन्त्रीज्यू, मेरो गाउँमा धेरै बालिकाको अवस्था यस्तै छ,’ चेतनाले भनिन् ।
कानुनले बिहेबारी २० वर्षपारि व्यवस्था गरेको छ । बालविवाह गराउने अभिभावकलाई सजाय हुन्छ । तर यहाँका गाउँमा बिनारोकटोक बालविवाह भइरहेको छ । यसले पढ्ने अधिकार खोसिएको छ । स्वतन्त्र र आत्मनिर्भर हुने सपना गुमेको छ । विवाह गर्न नमान्नेलाई परिवारबाट असुरक्षा छ । यस्तै पीडा पोख्न बाँके, बर्दिया, दाङ, रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका ४० बालिका मुख्यमन्त्री निवासमा आएका थिए ।
त्यहाँ उनीहरूले मुख्यमन्त्रीसँग छलफल गरे । पीडा र वेदना सुनाए । रूपन्देहीको कोटहीमाईकी मीना हरिजनले बालविवाहले अलपत्र परेको गुनासो गरिन् । ‘मेरो १२ वर्षमा बिहे भयो । अहिले १६ वर्षकी भएँ । केटाले अर्कै घरजम गर्‍यो,’ उनले भनिन्, ‘केटो लैजान्न भन्छ । बुबाआमा
त्यही घर जा भन्छन् । म के गरूँ ?’ बिहीबार उनीजस्तै बालविवाहले अलपत्र सात किशोरी आएका थिए ।
बाँके र बर्दियाका अभिभावकले केही समयअघि १६ वर्षमै छोरीको बिहे गर्न पाउनुपर्ने मागसहित जुलुस निकालेका थिए । बालविवाहको विरोध गर्नेलाई कुट्ने निर्णय गरेका छन् । यसबाट बालिका त्रसित छन् । आफ्नै अभिभावक र संरक्षक विपक्षमा भएकाले गाउँमा असुरक्षित महसुस गरेका छन् । यसबाट चिन्तित बालिकाले यसअघि त्यहाँका स्थानीय तह, प्रहरी र जिल्ला प्रशासनमा सुरक्षा माग गर्दै ज्ञापनपत्र बुझाए । सुनुवाइ नभएपछि समूह बनाएर मुख्यमन्त्री भेट्न आएका हुन् । ‘बिहे रोक्न खोज्दा बुबाआमाले कुट्छन् । गाउँलेले नेता बने बलात्कार गरेर फाल्छौं भन्छन् । प्रहरीले पनि यस्ता काममा नलाग हामी सुरक्षा दिन सक्दैनौं भन्छ,’ बाँकेकी उषा शाहीले गुनासो गरिन्, ‘त्यसैले सुरक्षा माग्न यहाँ आएका हौं ।’
पाँच वर्षदेखि अभियानमा लागेका बालिकाले विभिन्न जिल्लामा बालविवाहविरुद्ध हस्ताक्षर संकलन गरेका थिए । करिब ५० हजार हस्ताक्षर पनि मुख्यमन्त्रीलाई बुझाए । बालविवाह रोकथाम र कानुन कार्यान्वयन गर्न प्रदेशस्तरमा सशक्त अभियान सञ्चालन गर्नुपर्ने मागसहित ८ बुँदे ज्ञापनपत्रसमेत बुझाए । त्यसमा प्रदेशले रणनीति बनाएर क्रमशः बालविवाह मुक्त जिल्ला घोषणा गर्नुपर्ने, बाल क्लब तथा किशोरी अधिकार मञ्चलगायतको समन्वयमा बालविवाह रोकथामको रणनीति, नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने माग गरे ।
बालविवाहका कारण पढ्न नपाएका बालिकालाई शिक्षा तथा सीपको व्यवस्था गर्न र बालिकाका गुनासा सुन्न हरेक विद्यालयमा लैंगिक सम्पर्क व्यक्ति तोकिदिनसमेत आग्रह गरे । दुई घण्टा बालबालिकाका प्रश्न र गुनासा सुनेपछि मुख्यमन्त्री पोखरेलले बालविवाह, बाल दुर्व्यवहारलगायतका हिंसा रोक्न र अधिकार संरक्षण गर्न प्रतिबद्ध रहने बताए । ‘कानुनले रोकेको छ । तैपनि धर्म, संस्कृति र परम्पराका नाममा बालविवाह भएको छ,’ उनले भने, ‘तपाईंका समस्या जटिल छन् । विश्लेषण गरेर समाधानको बाटो खोज्नेछु ।’ बालविवाह र हिंसा रोक्न बालिकासँगै अभिभावकमा पनि चेतना ल्याउनुपर्ने उनले सुनाए ।

 

Page 14
समाचार

'औलो पचाएर' बसोबास

दाङमा यसरी भयो बस्ती विकास
जतिबेला पहाडिया समुदाय औलोबाट बच्न कोट जान्थे, थारु समुदाय फाँट जोतेर यहीँ बसे । उनीहरूले औलोलाई जिते । औलो पचाएका थारु समुदायलाई अहिले सिकलसेलले सताएको छ ।
- दुर्गालाल केसी
दाङको जिल्ला सदरमुकाम रहेको घोराही बजार ।तस्बिर ः दुर्गालाल/कान्तिपुर

(दाङ) - कुनै बेला दाङका तराई क्षेत्रमा स्थायी बसोबास सकसको विषय थियो । औलो लाग्ने डरले सर्वसाधारण पहाड उक्लिन्थे । पहाडमा सम्पन्नहरू राम्रो घर र विपन्न छाप्रा बनाएर बसेका थिए ।
दिनभर दाङ उपत्यकामा आएर काम गरेर साँझपख पहाड चढ्थे । यसलाई कोट जाने भनिन्थ्यो । रातमा लामखुट्टेले टोक्ने र बिहानपख शीत पर्ने भएकाले औलो लाग्ने डर थियो । सम्पन्नहरू घोडा चढेर कोट र तराई आउजाउ गर्थे । नहुनेहरू पैदल हिँड्थे । त्यस्तो कठिन समयमा पनि दाङका आदिवासी थारू समुदाय औलो पचाएर जिल्लामा बसोबास गरिरहेका थिए । उनीहरूले नै जमिन जोत्ने र खेतीपाती गर्थे । बसाइँसराइ थिएन । जिल्ला अहिले सहरमा परिणत भइसकेको छ । बसाइँ आउनेको संख्या दिन प्रतिदिन बढ्दो छ ।
इतिहासका शोधार्थी घोराहीका टेकनाथ गौतमको पुस्तक ‘राप्ती अञ्चलको इतिहास तथा केही संस्मरणहरू’ अनुसार १९१५ सालसम्म जिल्लामा थारू समुदायबाहेक बस्थेनन् । वर्षायाममा पहाडियाहरू कोटमा बस्थे । १९०८ सालसम्म जिल्लामा भोटबाट नुन आउँथ्यो । त्यही वर्ष भारतबाट समुद्रको नुन ल्याइएको थियो । त्यसपछि यहाँका बासिन्दाले धित मर्ने गरी नुन खाएको पुस्तकमा उल्लेख छ । भारतको गैंसडीसम्म रेल चलेपछि १९५० सालमा कोइलाबास बजार बसेको थियो । १९६२ सालमा जरवासम्म रेल आएपछि कोइलाबासमा चहलपहल बढ्यो । त्यतिबेलासम्म जिल्लाको तोरी र चामल बिक्री हुँदैनथ्यो । कोइलाबास बजार सुरु भएपछि स्थानीयले कुइरेपानी–कोइलाबास सडक खन्ने र मर्मतको काम गरे । तोरी र चामल कोइलाबास हुँदै भारत निकासी हुन थाल्यो ।


प्रथम विश्वयुद्ध सुरु भएपछि खाद्यान्नको माग
बढ्यो । कोइलाबासमा खाद्यान्न बिक्री बढ्यो । त्यसपछि दंगालीले राँगा, घोडामा लादेर चामल र तोरी कोइलाबाससम्म पुर्‍याउन थाले । त्यहाँबाट उपभोग्य सामान ल्याएर यहाँ पनि पसल चलाउन थालियो । आर्थिक कारोबार बढ्न थाल्यो । त्यसबेला राप्ती अञ्चलका पहाडी जिल्लाहरू सल्यान, रुकुम, रोल्पा र प्युठानका बासिन्दा पनि नुन लिन र घिउ बेच्न कोइलाबास पुग्थे । दाङ–कोइलाबास दिनहुँ सयौंको ओहोरदोहोर हुन्थ्यो ।
जिल्लाको विकासमा औलो उन्मूलनको मुख्य भूमिका छ । २००७ सालपछि औलो उन्मूलन कार्यक्रम सुरु भयो । प्रकोप कम गर्न लामखुट्टे मार्ने औषधि छर्कन थालियो । घर, आँगन, झाडीतिर औषधि छर्किन थालेपछि लामखुट्टेको प्रभाव कम भयो । औलोको औषधि आयो । त्यसले औलो कम हुँदै गयो । प्रकोप घट्दै गएपछि ०२५ सालतिर बसाइँसराइ ह्वात्तै बढ्यो । त्यसभन्दा अघि फाटफुट पहाडबाट तराई झर्ने क्रम थियो । पहाडमा उब्जनी कम हुने, काम गर्ने मान्छे नपाइने र बढी दुःख हुने भएकाले तराई आकर्षण बनेको थियो । त्यसमध्येका एक हुकुमानन्द पन्त हुन् । जिल्लाको पहाडी काभ्रेबाट रामपुर झरेका थिए । थारूलाई कमैया राख्न पाइने र खेती लगाइदिने भएकाले सजिलो थियो । ‘थारूले जग्गा जोतिदिन्थे । एकजना कमैया राखेपछि उसका बाँकी सबै सदस्यले निःशुल्क काम गरिदिन्थे,’ उनले भने, ‘त्यस्तो सुविधा भएपछि औलोका बावजुद पनि हामी तराई झरेका थियौं ।’
उनका अनुसार बाह्रैमास यहाँ टिक्ने अवस्था थिएन । औलोको डरले राति सुत्न पहाड उक्लिन्थे । ‘दिनभर काम गर्न तराई झर्थ्यौं । बेलुकापख कोट जान्थ्यौं । लामखुट्टेले टोक्ने र औलो लाग्ने त्रास थियो,’ उनले भने, ‘औलो उन्मूलनपछि पहाडका जग्गा बेचेर यतै बस्न थाल्यौं ।’ उनका अनुसार औलोको डरले त्यतिबेला चौघेरास्थित गोरक्ष रतननाथ मन्दिरका योगीसमेत देवता लिएर सवारीकोटतिर जान्थे । उतै पूजाआजा गर्थे । सवारीकोट, तार्केनी, ठाँटीकोट, छिल्लीकोटलगायत डाँडामा बसोबास थियो । ८८ वर्षीय पन्तलाई ती दिन सम्झँदा अचम्म लाग्छ । गाडी–मोटर कतै थिएनन्, सबैतिर हिँडेरै पुग्नुपर्ने ।
किसान भारी बोकेर टाढाटाढासम्म पुग्थे । सरकारलाई पोतबापत धान तिरेर जग्गा जोत्न पाउँथे । औलो उन्मूलनपछि जग्गा किनबेच बढ्यो । बिस्तारै पहाडबाट आएकाहरू भरिँदै जाने र आदिवासी थारू समुदाय खुम्चिँदै जाने अवस्था आयो । सुरुमा उब्जनी धेरै हुन्थेन । त्यतिबेला परम्परागत खेती प्रणाली र पुरानो बीउका कारण उब्जनी निकै कम हुने गरेको नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक किशोरचन्द्र गौतमले बताए । ‘रोपाइँ गर्ने, गोडमेल गर्ने चलन थिएन । धान छर्ने मात्रै गरिन्थ्यो । पुरानो बीउ थियो,’ उनले भने, ‘खेती गरेर मुस्किलले खान पुग्थ्यो । दुःख गरेर खान नपुग्ने भएपछि धान बिक्री गर्ने कुरा झनै समस्या थियो ।’
कसरी पचाए औलो
जतिबेला पहाडिया समुदाय औलोबाट बच्न कोट जान्थे, थारू समुदाय फाँट जोतेर यहीँ बसे । उनीहरूले औलोलाई जिते । औलो पचाएका थारू समुदायलाई अहिले सिकलसेलले सताएको छ । यसलाई समुदायको मात्र रोग भनिएको छ । ‘त्यतिबेला थारू समुदायको खानपान वैज्ञानिक खालको थियो । चिल्लो खाँदैनथ्यौं । सागपात, माड र झोल बढी खान्थ्यौं,’ घोराही–७ सिसहनियाका ६७ वर्षीय बेझलाल चौधरी भन्छन्, ‘धेरै दिनसम्म राखेर माड खाने चलन थियो । तोरी थिएन, चिल्लो पनि खाँदैनथ्यौं । चिसो, शीतल चिज बढी खान्थ्यौं । अमलाको अचार खान्थ्यौं ।’ प्रकृतिसँगै लडेर बढी समय बिताउने भएकाले औलोले भेट्न नसकेको उनले बताए । ‘अधिकांश समय काम गरेर बित्थ्यो । खानपिन र काम सन्तुलन मिलाएर हुन्थ्यो,’ उनले भने, ‘पहाडमा बस्नेहरू बढी घिउ, तेल खान्थे । काम गर्दैनथे । स्वास्थ्य कमजोर हुन्थ्यो । रोगसँग लड्ने क्षमता थिएन ।’
औलोबाट बच्न कोट जाँदा भरिया बनेर थारू समुदायका व्यक्ति जान्थे । ‘जमिनदारको भारी बोकेर कोटसम्म पुर्‍याउन जान्थ्यौं,’ उनले भने, ‘खेतीपाती हामी गर्थ्यौं । धानको दाइँ सकेपछि माघ महिनातिर जमिनदार तल झर्थे ।’ थारू जातिले जिल्लाको कृषि क्षेत्रमा ठूलो योगदान गरे पनि जमिनदारबाट सताइएपछि धेरै विस्थापित भएको उनले बताए । ‘हाम्रो आफ्नो जमिन थिएन, जमिनदारकै जग्गा जोत्ने, भारी बोक्ने, घोडामा सामान लादेर हिँड्ने काम गर्थ्यौं,’ चौधरीले भने,‘हाम्रो अवस्था कहिल्यै सुध्रिएन । जग्गाजमिन केही भएन । त्यसपछि धेरै थारू दाङ छाडेर भागे ।’ समस्या झेल्दै आएका थारू समुदाय अनुकूल वातावरण नभएपछि जिल्लाबाट विस्थापित भएका हुन् । खेतीपाती गर्न पाएकाहरू यहाँ बसे ।
अहिलेसम्म जिल्लामा थारू समुदायको बाहुल्य छ । २०६८ सालको जनगणनाअनुसार जिल्लाको ५ लाख ५२ हजार ५ सय ८३ जनसंख्यामध्ये थारूको संख्या १ लाख ६३ हजार १ सय १६ अर्थात् २९.५२ प्रतिशत छ । मातृभाषा नेपालीपछि सबैभन्दा धेरै बोल्ने भाषा थारू हो । १ लाख ५५ हजार ४ सय १३ अर्थात् २८.१२ प्रतिशतले थारू भाषा बोल्छन् । सुकौराकोटमा थारू राजा दंगीशरणले राज्य गरेको इतिहास छ । थारू जातिको आफ्नै इतिहास र संस्कृति छ । दाङको विकासमा थारू समुदायको महत्त्वपूर्ण योगदान मानिन्छ । पहिले कमैया र कमलरी बसेर शोषित भएका थारू समुदाय अहिले विस्तारै विभिन्न क्षेत्रमा अघि बढिरहेका छन् । सरकारले कमैया र कमलरी मुक्तिको घोषणा गरेपछि थारू समुदायले दासताबाट मुक्ति पाएको मानिन्छ ।
भूमिसुधार नीतिको प्रभाव
भूमिसुधार नीति पनि जिल्लामा बस्ती विकासको मुख्य कारण छ । ०२१ सालमा भूमिसम्बन्धी ऐन आएपछि हदबन्दीभन्दा बढी जग्गा राख्न नपाइने भयो । जग्गा बिक्री गर्न सुरु भयो । ‘वर्षौंदेखि जग्गा जोतिरहेका थारू किसान हदबन्दीभन्दा बढीको जग्गा पाउने आसमा बसेका थिए, तर त्यसो हुन सकेन,’ तत्कालीन जिल्ला पञ्चायत सदस्य एकराज शर्माले भने, ‘सबै जमिनदारले जग्गा आफन्तका नाममा बनाए, केही पहाडियालाई बेचे । थारूले जग्गा पाउन सकेनन् ।’ थारू जाति जग्गा जोत्ने, तर जग्गाको मालिक हुन नसक्ने अवस्था आयो । कतिपय जग्गाको पोत बुझाउन नसकेर पनि भूमिहीन भए । ‘पोतबापत धान बुझाउनुपर्थ्यो । लामो समयपछि पोत संकलन हुन्थ्यो । त्यतिबेलासम्म धान खाएर सकिइसकेको हुन्थ्यो,’ शर्माले भने, ‘पोत बुझाउन नसकेपछि जग्गा लिलाम भए । लिलाम भएको जग्गा पहाडियाहरूले लिए । थारू जग्गाविहीन भए ।’ त्यसपछि थारूहरू बर्दियातर्फ गए । त्यसलाई बुह्रान जाने भनिन्थ्यो । बर्दियामा खाली जग्गा धेरै भएकाले खेती गरेर बस्न पाइने आसमा बुह्रान गएका थिए । ‘दिनहुँ हूलका हूल मानिस बर्दियातर्फ हिँडे । जमिनदारलाई खेती गर्ने मानिस नपाइने अवस्था आयो,’ लमही–५ कोलहीका ७८ वर्षीय शर्माले भने, ‘अञ्चलाधीशले समेत रोक्न खोजे तर सकेनन् ।’ भूमिसुधार नीतिपछि जिल्लामा पहाडी क्षेत्रका मानिसको बसोबास बढेको उनले बताए । जमिनमा पनि उनीहरूको प्रभाव भयो । जमिन जोत्न पाउने थारूहरू मात्रै जिल्लामा बसे । त्यतिबेलै मिल सञ्चालन गरिए ।
भारतको कानपुरबाट बोकेर मिल ल्याइएको थियो । ‘त्यसबेलादेखि ढिकी, चाँकी हराउँदै गए । मिलहरू गाउँगाउँ पुगे तर व्यावसायिक रूपमा चलेनन् ।
आफ्नो अनाज कुट्ने, पिस्ने मात्रै भयो,’ उनले भने, ‘त्यति नै बेला रसियन जिप किन्ने लहड पनि खुबै चल्यो । धेरै दंगालीले जिपमा पैसा लगानी गरे ।’ मिल र जिप दुवै व्यावसायिक रूपमा चल्ने अवस्था नभएपछि धेरैको लगानी खेर गयो । कोइलाबाससँग जोडिएको बजार ०४० सालपछि हरायो । पूर्वपश्चिम राजमार्ग चलेपछि कोइलाबासबाट भारत आउजाउ घट्यो । ‘कोइलाबासका व्यापारी पनि लमही र घोराहीतिर सर्न थाले । त्यसपछि दाङका बजार विस्तार हुन थाले,’ दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नागरिक अगुवा चन्द्रराज पन्त भन्छन्, ‘राप्तीको व्यापारिक केन्द्र दाङ बन्यो । पहाडी जिल्लासँगको सबै कारोबार दाङबाट हुन थाल्यो ।’
बाटोघाटोको सुरुवात
जिल्लाको विकासमा घोराही घनिबगियाका सामाजिक अगुवा दामोदर घिमिरे कोसेढुंगा मानिन्छन् । गाउँलेलाई झारा अर्थात् श्रमदान गर्न लगाएर बाटो खनाउँथे । गाउँगाउँमा बाटो बनाउनुपर्छ भनेर जोडबल गरे । ०१९ सालमा उनी बडाहाकिम भए । त्यसपछि उनको हुकुम चल्न थाल्यो । गाउँगाउँमा बाटो खन्न उर्दी जारी गरे । सबै मानिस घरघरबाट बाटो खन्न निस्किए । उनले देउखुरीदेखि दाङको बिजौरीसम्म जोड्ने बाटो खनाए । उक्त सडक अहिले पनि दामोदर सडकका रूपमा परिचित छ । अन्य धेरै सडक दामोदर सडकका रूपमा चिनिन्छन् । जनतालाई धेरै काममा लगायो, सतायो भन्ने उनीप्रति गुनासो पनि आयो । उनी सडक खन्न, स्कुल चलाउन आवश्यक पर्ने चन्दा उठाउन झोला बोकेर घरघर पस्थे । आफूले मागेजति पैसा नपाएसम्म निस्कँदैनथे । जसरी पनि लिएरै छोड्ने । यही कारण कोहीकोही ‘तेरो घरमा दामोदरको झोला पसोस्’ पनि भन्थे ।
दामोदर धेरै कडा भयो भन्ने भएपछि तीन महिनामै पदबाट हट्नुपर्‍यो तर उनले तीन महिनामै जिल्लाका धेरै गाउँमा बाटो खनाइसकेका थिए । त्यतिबेला गोग्ली पञ्चायतका सदस्य भएका ८८ वर्षीय पन्त दामोदरको विकासे अभियानलाई अहिले पनि सम्झन्छन् । ‘सबै पञ्चायत सदस्यलाई आफ्नो क्षेत्रमा बाटो खन्न निर्देशन दिए । कटुवालले हाँक हालेपछि सबै मानिस जुट्नुपर्थ्यो,’ उनले भने, ‘सबै मिलेर केही पनि खर्च नगरी बाटा खुले । त्यतिबेला गाडी नचले पनि गाडी गुड्नेखालका बाटा तयार भएका थिए ।’ त्यो बेला विकासको प्रतिस्पर्धा नै हुने गरेको २०३६ का राष्ट्रिय पञ्चायत सदस्य एकराज शर्माले बताए । ‘विकासको मुख्य आधार बाटो नै थियो,’ उनी भन्छन्,‘श्रमदानबाट बाटो खन्न सकिने भएकाले बजेटको चिन्ता पनि थिएन ।’ शिक्षाका हिसाबले पनि दाङमा समस्या थियो । स्कुल थिएनन् । पढ्न चाहने भारतको बनारस गएर पढ्थे । अरू इच्छुकहरू पण्डित र पुरोहितका घरमा गएर अक्षर चिन्थे ।
२००४ सालमा पद्मोदय पब्लिक मिडिल स्कुल खुलेपछि मात्रै दाङमा औपचारिक शिक्षा सुरुवात भएको थियो । उक्त स्कुल खोल्न पनि दामोदरले अगुवाइ गरेका थिए । अहिले जिल्लामा सरकारी तथा निजी क्षेत्रका धेरै स्कुल र कलेज छन् । घोराही र तुलसीपुर उपमहानगर भएका छन् भने लमही नगरपालिका छ । अन्य सात गाउँपालिका छन् । गाउँपालिकाका केन्द्रहरू सहरोन्मुख छन् । सबैतिर सडक कालोपत्रे भइरहेका छन् । कुनै बेला खाली देखिने दाङका फाँटमा अहिले घरैघर छन् । खेतीयोग्य जमिन बस्तीमा परिणत भइरहेका छन् ।

 

Page 15
खेलकुद

आक्रामक मछिन्द्र

- कान्तिपुर संवाददाता
मछिन्द्रको जर्सी सार्वजनिक गर्दै कप्तान बिराज महर्जन, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, प्रायोजक र क्लबका पदाधिकारी । दायाँतर्फ बीबीसीको जर्सीका साथ कप्तान अनिल गुरुङ र पदाधिकारी । तस्बिर ः अंगद ढकाल/कान्तिपुर

(काठमाडौं) - गत वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७५ मा रेलिगेसन हुने व्यवस्था भइदिएको भए मछिन्द्र क्लबलाई समस्या पर्न सक्थ्यो । मछिन्द्रले लिगको खास तयारी गरेको थिएन र खेलाडीमा खासै भाउ लगाएको थिएन । करिब ६० लाख रुपैयाँ लगानीको टिम मछिन्द्र सहभागी १४ क्लबमध्ये १३ औं भयो । त्यसैले उसले माइनस १ अंकबाट नयाँ सिजन सुरु गर्दै छ ।
ए डिभिजन लिग २०७६ को पहिलो दिन शनिबार ब्रिगेड ब्वाइज क्लबविरुद्ध प्रतिस्पर्धा गर्न लागेको मछिन्द्रले यसपालि खेलाडीमा ठूलै लगानी गरेको छ । ‘पौने दुई करोड (१ करोड ७५ लाख रुपैयाँ) को बजेट बनाएका छौं,’ प्रबोधवीरसिं कंसाकारले भने, ‘खेलाडीमा मात्रै करिब १ करोड खर्च हुन्छ । स्टार खेलाडीलाई लिएका छौं ।’ क्लबले शुक्रबारै सानमिगेलसँग मुख्य प्रायोजन सम्झौता गर्‍यो ।
मछिन्द्रले पहिलोपल्ट लिग च्याम्पियन बन्ने योजना बुन्दै डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङदी र थ्रीस्टारका मुख्य खेलाडीलाई भित्र्याएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण विजेता नेपाली टिमका कप्तान सुजल श्रेष्ठ, राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन, मिडफिल्डर विशाल राई, गोलकिपर विशाल श्रेष्ठ, गत सिजनका उत्कृष्ट मिडफिल्डर हेमन गुरुङ, दीपक राई, अफ्रिकी मूलका एडेलेजा सोमिडे मनाङ छाडेर मछिन्द्रमा आबद्ध भएका छन् । मछिन्द्रका लागि पिटर सेगुन, विजय धिमाल, रन्जित धिमाल, बुद्ध चेम्जोङले पनि थ्रीस्टार छाडे ।
मनाङबाट एएफसी कप २०१९ खेलेका देवेन्द्र तामाङ र अभिषेक रिजाल तथा च्यासलका योगेश गुरुङलाई पनि मछिन्द्रले भित्र्यायो । सूर्य अधिकारी, आन्द्रेस निया पनि मछिन्द्रमा आबद्ध भइसकेका छन् । खेलाडीको नामको हिसाबले मछिन्द्रको यो
टिम लिगको उपाधिको दाबेदार बनेको छ ।
मछिन्द्रले पूर्वमिडफिल्डर प्रवेश कटुवाललाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । उनले लिगमा पहिलोपल्ट पाएको अवसरमा च्याम्पियन बन्ने योजना बनाएका छन् ।
‘टिम राम्रो छ । खेलाडी राम्रा छन्, उत्कृष्ट खेलका लागि योग्य छन् । त्यसैले लिग च्याम्पियन बन्ने लक्ष्य बनाएका छौं,’ प्रशिक्षक कटुवालले भने, ‘हामीले दुई साता तयारी गरेका छौं । सागको टिममा रहेका खेलाडी उपलब्ध नहुँदा भने एकसाथ ट्रेनिङ गर्ने समय अभाव भयो । तर, सबैले एउटा टिमको रूपमा राम्रो खेल्ने विश्वास गरेको छु ।’
जापानी फुटबल लिगको टिमविरुद्ध शुक्रबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा मछिन्द्रका केही खेलाडी पनि मैदान ओर्लिएका थिए । हिउँदे झरीमा भएको उक्त खेलले आफ्ना खेलाडीलाई असर पर्नसक्ने भन्दै कटुवाल चिन्तित थिए ।
‘उपाधि रक्षा गर्न तयार’
राजधानीको शीर्ष लिगमा सबैभन्दा बढी आठपल्टको च्याम्पियन हो मनाङ । गत वर्षको च्याम्पियन यात्रामा मनाङ मर्स्याङदीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ भए पनि खेलको रणनीति बनाउने र ट्रेनिङ सम्हाल्ने काम नाइजेरियाली तोपे फुजाले गरेका थिए । यसपालि प्रशिक्षकको जिम्मेवारी उनलाई दिइएको छ ।
फुजाले ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गर्न आफ्नो टिम तयार रहेको बताए । दुई साताअघिमात्रै मनाङको टिम सम्हाल्ने जिम्मेवारी पाएका फुजाले भने, ‘लगभग खेलाडीहरू निश्चित भइसकेपछि म आइपुगेको हो । खेलाडीहरू प्रतिभावान छन् । उपाधि रक्षा गर्ने विश्वास छ र यसैको लागि प्रयास गर्नेछौं ।’ क्लबका सिनियर र स्टार खेलाडीहरू बाहिरिदा पर्ने असरबारे उनले भने, ‘भएका खेलाडीलाई उपयोग गर्ने हो । उनीहरू त्यस्तो खासै फरक पर्छ जस्तो लाग्दैन ।’
पछिल्लोपल्ट उपाधिको दाबेदार मानिए पनि चौथो स्थानमा खुम्चिएको थियो आर्मी क्लब । यो विभागीय टिमका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘हामी गत वर्ष पनि लिगमै केन्द्रित भएर पनि उपाधि जित्न सकेनौं । यसपालिको लिगलाई पनि लामो समयदेखि राम्रो तयारी गरेका छौं । उपाधि जित्नकै लागि लिग खेल्नेछौं ।’
एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले भने एक महिनायता तयारी गरेर पनि टिमसेट हुन नसकेको बताए । ‘शीर्ष ६ को लक्ष्य बनाएका छौं र त्यसको लागि प्रतिस्पर्धा गर्न तयार छौं,’ उनले भने । च्यासल युवा क्लबका प्रशिक्षक बालगोपाल साहुखलले
पनि साग र यू–१९ छनोटले टिमको तयारी प्रभावित पारेको भए पनि लिगमा उच्च स्थानका लागि प्रयास गर्ने बताए ।
एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले साउन दोस्रो सातादेखि तयार गरेको उल्लेख गर्दै भने, ‘हामीसँग राष्ट्रिय खेलाडीहरू छैनन् । पुरानै खेलाडी छन् । मोफसलका प्र्रतियोगिता खेलेको अनुभवले लिगलाई राम्रो गर्न सक्छन् । बिना दबाब राम्रो गर्ने प्रयास गर्नेछौं ।’ हिमालयन शेर्पा, ब्रिगेड ब्वाइज, पुलिसले लिगमा राम्रो गर्ने प्रयासमा रहेको जनाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा लिगअघि आयोजित पत्रकार सम्मेलनमा चारपल्टको विजेता थ्रीस्टार, गत वर्षको उपविजेता संकटा, सरस्वती, जावलाखेल र फ्रेन्ड्स क्लबका प्रतिनिधि भने
उपस्थित भएनन् ।

सहिद स्मारक लिग विजेता
साल टिम
२०११ महावीर–११
२०१२ नेपाल पुलिस फोर्स–११
२०१३ नेपाल पुलिस फोर्स–११
२०१४ सैनिक–११
२०१७ एनआरटी ॅए’
२०१९ एनआरटी ॅए’
२०२० विद्या व्यायाम
२०२३ महावीर–११
२०२४ फ्रेन्डस युनियन क्लब
२०२५ देउराली क्लब ठमेल
२०२६ महावीर–११
२०२७ देउराली क्लब ठमेल
२०२८ आरसीटी
२०२९ आरसीटी
२०३० आरसीटी
२०३२ ब्वाइज युनियन क्लब
२०३३ सुनाखरी एथलेटिक क्लब
२०३४ अन्नपूर्ण क्लब
२०३५ एनआरटी
२०३६ आरसीटी
२०३८ आरसीटी
२०३९ अन्नपूर्ण क्लब
२०४० संकटा क्लब
२०४१ आरसीटी
२०४२ संकटा क्लब
२०४३ मनाङ–मर्स्याङ्दी क्लब
२०४४ मनाङ–मर्स्याङ्दी क्लब
२०४६ मनाङ–मर्स्याङ्दी क्लब
२०५२ एनआरटी
२०५४ थ्रीस्टार क्लब
२०५७ मनाङ–मर्स्याङ्दी क्लब
२०६० मनाङ–मर्स्याङ्दी क्लब
२०६१ थ्रीस्टार क्लब
२०६२ मनाङ–मर्स्याङ्दी क्लब
२०६३ नेपाल पुलिस क्लब
२०६६/६७ नेपाल पुलिस क्लब
२०६८ नेपाल पुलिस क्लब
२०६९ थ्रीस्टार क्लब
२०७० मनाङ–मर्स्याङ्दी क्लब
२०७५ मनाङ–मर्स्याङ्दी क्लब

खेलकुद

चार खेलाडीको निलम्बन लम्बियो

- कान्तिपुर संवाददाता

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले चार खेलाडीमाथिको निलम्बन लम्ब्याएको छ । ‘नाइट क्लब’ मा गएर अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले चार साताअघि नेपाली राष्ट्रिय टोलीका विमल घर्तीमगर, दिनेश राजवंशी, अन्जन विष्ट र सन्तोष तामाङलाई निलम्बन गरेको थियो ।
कुवेतसँगको विश्वकप छनोट खेल्न भुटान जाने अघिल्लो दिन उनीहरूलाई ठमेलमा गएर अनुशासनहीन कार्य गरेको भनी एन्फाले कात्तिक ३० देखि कुनै प्रतिस्पर्धामा सहभागी हुन दिएको थिएन ।
एन्फाले ठमेल काण्डका कारण विमल र दिनेशमाथि शुक्रबारदेखि लागू हुने गरी ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिनको निलम्बन बढाएको हो । यो निर्णयले शनिबार सुरु हुने सहिद स्मारक लिग विमल र दिनेशले पूरै खेल्न पाउने छैनन् । अन्जन मनाङ मर्स्याङ्दी र सन्तोष त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् । एन्फाले निलम्बनको समयमा एन्फासँग आबद्ध कुनै प्रतियोगितामा चार खेलाडीले खेल्न नपाउने जनाएको छ । साथै निलम्बित सबै चार खेलाडीमाथि ५० हजार रुपैयाँ जरिवाना पनि सुनाएको छ ।

खेलकुद

अनिल १५ वर्षपछि बीबीसीमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ १५ वर्षपछि ब्रिगेड ब्वाइज क्लब (बीबीसी) मा फर्किएका छन् । अनिललाई कप्तानमा चुन्दै बीबीसीले शुक्रबार कतार एयर सहिद स्मारक लिग फुटबलमा खेल्ने आफ्नो टोली सार्वजनिक गरेको छ ।
पोखराको सहरा क्लबबाट उत्पादित अनिलले २०६१ मा बीबीसीबाट खेल्दै सहिद स्मारक लिगमा ‘डेब्यु’ गरेका थिए । त्यसपछि उनी थ्रीस्टार क्लब, मनाङ मर्स्याङदी क्लब हुँदै गतवर्ष थ्रीस्टारमा आएका थिए । लिग शनिबार सुरु हुँदा अनिलको नेतृत्वमा रहेको बीबीसीले मच्छिन्द्र क्लबसँग पहिलो खेल खेल्नेछ ।
‘म जहाँ थिएँ, त्यही फर्किएको छु । जुन ठाँउमा अहिले छु, एकदमै खुसी छु,’ शुक्रबार आयोजित कार्यक्रममा अनिलले भने, ‘बीबीसीले बोलाएपछि मैले कुनै डिमान्ड नै गरिनँ । अरु क्लबले पनि मलाई बोलाएको थियो । मैले आफैं यो निर्णय लिएर बीबीसी फर्किएको हुँ । यस क्लबसँग मेरो सम्बन्ध राम्रो छ । क्लबका पदाधिकारीले जहिल्यै पनि मेरो लागि ढोका खुला राख्नुभएको थियो ।’
बीबीसीले अनिलसँगै अनुभवी विजय गुरुङ र उत्तम गुरुङलाई पनि लिएको छ । पूर्व राष्ट्रिय खेलाडी विजयले हालै नेपालबाट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा पनि प्रतिस्पर्धा गरेका थिए । अखिल नेपाल फुटबल संघको एन्फा एकेडेमीको पहिला पुस्तामा हाल पनि खेलिरहेका खेलाडीमा विजय एक्लो खेलाडी हुन् । बीबीसी पछिल्लो दुई यू–१८ लिगको विजेता हो । टोलीले केही महिनाअघि युवा लिग जितेको कप्तान जय गुरुङसहित १० खेलाडी टोलीमा राखेको छ ।
‘म पहिलोपल्ट लिग खेल्न आएको बेलामा तपाईहरू जस्तै जुनियर थिएँ । क्लबको व्यवस्थापनसँग राम्रो सम्बन्ध थियो, त्यही भएर अहिले फर्किएर आएको हुँ । सुरुमा बीबीसीबाट खेलेको भएर नै आज म यो स्थितिमा छु,’ अनिलले क्लबको जुनियर खेलाडीतर्फ इंगित गर्दै भने, ‘बीबीसी भनेको एउटा प्लेटफर्म हो । मिहिनेत र राम्रो प्रदर्शन गर्न सकियो भने यहाँबाटै राम्रो ठाउँमा पुग्न सकिन्छ । यस क्लबमा युवा खेलाडीको एउटा टिम छ, त्यसले क्लबलाई लिगमा एउटा राम्रो स्थान दिलाउने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’
बीबीसीका कार्यबाहक अध्यक्ष लालकुमार पुनले आफूहरूले धेरै मिहिनेत गरेको र ठूलो परीक्षा शनिबार लिग सुरु भएपछि हुने बताए । ‘क्लबलाई भोलिन्टेर हिसाबमा चलाउन गाह्रो छ, त्यसैले जो जसले योगदान दिइरहनुभएको छ सबैलाई धन्यबाद दिन चाहन्छु,’ पुनले भने, ‘प्यासनले नै आज हामी एकै ठाउँमा छौं ।’ व्यवस्थापक अरविन्द गुरुङले शीर्ष पाँचभित्र पर्ने उद्देश्य भएको जनाए । उनले गत वर्ष युवा टोली भयो भनेर अहिले केही अनुभवी खेलाडी थपिएको जनाए ।
बीबीसीको प्रशिक्षकमा खगेन्द्र पुन र टेक्निकल प्रशिक्षकमा सनोज श्रेष्ठ छन् । प्रशिक्षक पुनले कमजोरी र क्षमताका बारेमा टोलीलाई थाहा भएको र आफूहरू क्षमतामा केन्द्रित हुने जनाउँदै लिगमा टिकिरहन धेरै गर्नुपर्ने बताए ।

खेलकुद

पानीमै नगरपरिक्रमा

- कान्तिपुर संवाददाता
शुक्रबार वर्षासँगै अस्तव्यस्त माहोलमा १३ औं सागका पदकधारी खेलाडीलाई सहर परिक्रमा गराइँदै । तस्बिर ः अंगद ढकाल/कान्तिपुर

(काठमाडौं) - १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदकधारी खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । नागरिक अभिनन्दन भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार पदक विजेता खेलाडीका लागि नगर परिक्रमा कार्यक्रम राखेको हो ।
सिमसिमे वर्षाले गर्दा कार्यक्रम प्रभावित बनेको थियो । खेलाडीहरू रुज्दैभिज्दै त्रिपुरेश्वरेबाट न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपसम्म पैदलमै गएका थिए । पैदलयात्रामा नेपाली सेनाको ब्यान्ड टोली अगाडि थियो । भृकुटीमण्डपबाट भ्यानमा राखेर नगर परिक्रमा गराइएको हो । त्यहाँ खेलाडीहरू सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुेश्वरस्थित राखेप हातामा आएपछि कार्यक्रम सकिएको थियो । कोटश्वरदेखि सूर्यविनायकसम्म तय गरिएको पूर्व निर्धारित रुट भने वर्षाका कारण छोट्याइएको राखेपले जनाएको छ । र्‍यालीमा राखेप र ओलम्पिक कमिटीका पदाधिकारी पनि सहभागी भएका थिए ।
नेपाली खेलाडीले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेका थिए ।

खेलकुद

विराट कप फुटबल

- कान्तिपुर संवाददाता

विराटनगर (कास)– प्रथम प्याब्सन विराट कप फुटबल शुक्रबार सुरु भएको छ । सेन्ट जोसेफ र गोदावरी स्कुल दोस्रो चरणमा पुगेका छन् । विराटनगर महानगरपालिका र आसपासका गाउँपालिकाका ४० निजी विद्यालयको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा सेन्ट जोसेफले सप्तकोसी इङलिस स्कुललाई टाइब्रेकरमा ३–२ गोलले हरायो । गोदावरीले जेम्सलाई टाइब्रेकरमै ४–३ ले हराएको थियो ।

खेलकुद

प्रदेशस्तरीय फुटबल हुने

- कान्तिपुर संवाददाता

विराटनगर (कास)– मोरङको सुन्दर हरैंचा नगर विराटचोकमा प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । मुस्लिम युवा समूहको आयोजनामा प्रतियोगिता मंसिर २८ देखि पुस ५ सम्म हुनेछ । उद्घाटन खेल डाँगिहाट युथ र बराहक्षेत्र फुटबल क्लबबीच हुने तय भएको छ । अन्य टिममा धनकुटा फुटबल क्लब, आयोजक टिम, गाईघाट फुटबल क्लब, सशस्त्र प्रहरी बल, भाङबारी फुटबल क्लब र ब्राइट स्पोर्टिङ क्लब सिलिगुडीको सहभागिता रहनेछ । आयोजक समिति अध्यक्ष इफ्तर आलमका अनुसार प्रतियोगिता विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी जित्नेछन् ।

खेलकुद

गेट्वे तेस्रो

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– गेट्वे एकेडेमी चौधौं फेका कप अन्तरस्कुल छात्र फुटबलमा शुक्रबार तेस्रो भएको छ । गेट्वेले कस्मिकलाई १–० गोलले हरायो । गेट्वेका येनिश लामा म्यान अफ द म्याच घोषित भए । फाइनल कौस्तुभ र करियरबीच शनिबार हुनेछ ।

खेलकुद

क्याडेट टेबलटेनिस हुने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दक्षिण एसियाली होप एन्ड क्याडेट टेबलटेनिस च्याम्पियनसिप पुस २ मा हुने भएको छ । प्रतियोगितामा नेपालसहित श्रीलंका, भारत, पाकिस्तान र माल्दिभ्सका ४९ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । होपतर्फ यू–१२ तथा क्याडेटतर्फ यू–१४ उमेरसमूहमा ब्वाइज/गर्ल्समा सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुनेछ ।
एकदिने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

Page 16
खेलकुद

बक्सिङमा नयाँ युग!

‘समग्र बक्सिङमा हाम्रो प्रदर्शन धेरै राम्रो भयो । त्यसैले त ९ बक्सर फाइनल पुगे, हालसम्मकै सबैभन्दा राम्रो नतिजाको रूपमा तीन स्वर्ण जित्यौं’
- राजु घिसिङ

(काठमाडौं) - भारतीय बक्सर मनीष कौशिकले विश्व च्याम्पियनसिप २०१९ मा कांस्यपदक जितेका थए । कमनवेल्थ गेम्स २०१८ मा रजत पनि हात पारेका हरियाणाका यी बक्सरलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ६४ केजीमुनिको स्पर्धामा स्वर्ण जित्न गाह्रो नहुने अनुमान गरिएको थियो । तर, उनलाई नेपाली बक्सर भूपेन्द्र थापामगरले ५–० ले पारजित गर्दै स्वर्ण कब्जा गरे । लन्डन ओलम्पिक २०१२ खेलेका शिव थापालाई पराजित गर्दै पहिलोपल्ट २०१७ मा घरेलु प्रतियोगितामा स्वर्ण जितेका कौशिकको यो हारलाई भारतीय मिडियाले १३ औं सागकै आश्चर्य मानेका छन् ।
भूपेन्द्रले मात्र होइन, मीनु गुरुङ र सनिल शाहीले पनि यो सागको बक्सिङमा स्वर्ण जिते । सागमा ३५ वर्षे इतिहासमा नेपालले बक्सिङबाट दुईभन्दा बढी स्वर्ण जितेको यो नै पहिलो संस्करण हो । मीनुले महिला ५४ कजीमुनि एसियन च्याम्पियनसिप २०१७ को कांस्य विजेता शिक्षालाई फाइनलमा ५–० ले हराएकी थिइन् । सनिलले वरिन्दर सिंहको चुनौती रोमाञ्चक बाउटमा ३–२ ले समाप्त पारिदिए । यी तीनको सफलतासँगै नेपालले यसपालि बक्सिङमा ३ स्वर्ण, ६ रजत र ६ कांस्य गरी १५ पदक हात पार्‍यो ।
यो सागमा पदक जित्न असफल एकमात्र बक्सर बने, दीपक श्रेष्ठ । खासमा उनीबाट स्वर्णपदक आस गरिएको थियो । आर्मीका यी अनुभवी बक्सरले १२ औं सागबाट मीनु र सरस्वती रानामगरसँगै कांस्य भित्र्याएका थिए । दीपक पहिलो चरणमै भारतका अंकित खतानाविरुद्ध परेका थिए । आक्रामक सुरुआत गरेका उनले खतानालाई निरन्तर दबाबमा राखे । तर, खेल सकिन ११ सेकेन्ड बाँकी छँदा खतानाको पञ्चमा उनी नकआउट हुन पुगे । त्यसैले उनी यो सागमा पदकविहीन एक्लो बक्सर बने ।
मनोहर बस्नेतले चोटको कारण देखाउँदै टिम छाडेपछि छनोट भएका गणेश प्रधानले ८१ केजीको सेमिफाइनलमा भारतका सचिन कुमारलाई पराजित गरेपछि स्वर्ण जित्ने आशा गरिएको थियो । उनी श्रीलंकाका रुमेश सन्दाकेलुमविरुद्ध चुकेपछि रजतमै सीमित भए । घरेलु रिङमा विशेषगरी महिला खेलाडीको पञ्च खुबै चल्यो ।
माला राईले ५१ केजीमा एसियन च्याम्पियनसिपको रजत विजेता पिंकी रानीलाई कडा चुनौती दिएकी थिइन् । तेस्रो राउन्ड सकिँदासम्म कसले खेल जित्यो भनेर अनुमान गर्नसक्ने अवस्था थिएन । लन्डन ओलम्पिक २०१२ मा कांस्य र छपल्ट विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी म्यारी कोमलाई घरेलु प्रतियोगितामा पराजित गरेकी पिंकीले मालाविरुद्ध कडा प्रतिस्पधाबीच ३–२ को जित निकालिन् । पुनम रावलले ६४ केजीको फाइनलमा मन्जु बाम्बोरियालाई पनि कडा चुनौती दिइन् । तर, नतिजा भारतीय बक्सरको पक्षमा ३–२ कै रह्यो । कलावानी श्रीनिवासनले पनि ललिता महर्जनविरुद्ध ४८ केजीमा ३–२ को जित निकाल्न निकै मिहिनेत गर्नुपर्‍यो । संगीता सुनार पनि ७० केजीको फाइनलमा भारतकै परविनसँग त्यही अन्तरले पराजित भइन् ।
नेपालका ९ खेलाडी फाइनलमा पुगेका थिए । त्यसमध्ये तीन स्वर्ण हात लाग्यो । हारेका ६ मध्ये ५ फाइनल भारतीय खेलाडीविरुद्ध थियो । बक्सिङको १६ स्पर्धामा भारतले १२ स्वर्ण जित्यो । नेपालले ३ जित्दा बाँकी एक स्वर्ण श्रीलंकाले लग्यो । सिलोङमा तीन वर्षअघि भएको १२ औं सागको बक्सिङमा भारतले सबै स्वर्ण कब्जा गरेको थियो, जहाँ नेपालले तीन कांस्यमात्रै हात पारेको थियो ।

लगानी चाहियो
‘समग्र बक्सिङमा हाम्रो प्रदर्शन धेरै राम्रो भयो । त्यसैले त ९ बक्सर फाइनल पुगे, हालसम्मकै सबैभन्दा राम्रो नतिजाको रूपमा तीन स्वर्ण जित्यौं,’ बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले भने, ‘भारत हामीभन्दा धेरै बलियो छ । उसले धेरै लगानी गरेको छ । उच्चस्तरको सुविधा दिएको छ । उनीहरूको सुविधासँग हाम्रो अवस्था तुलना गर्न सकिँदैन । तैपनि हाम्रा खेलाडीले घमासान चुनौती दियो । निरन्तरको प्रशिक्षण र नियमित प्रतियोगिताले सुधार आएको हो ।’ प्रशिक्षक थापा आफैं पनि आठौं साफका स्वर्ण विजेता हुन् ।
१३ औं सागका लागि नेपाली टिमको ‘क्लोज क्याम्प’ असोज सुरुबाटै भएको थियो । त्यसअघि ५२ दिन बैंककमा ट्रेनिङ गरेको थियो । फर्केर पोखरामा तयारी गर्‍यो, जहाँ उज्वेकिस्तानी प्रशिक्षक अलिसेर राखिमोभले शारीरिक बलियोपन र पावर ट्रेनिङमा जोड दिएका थिए । ‘हामीले बैंककमा राम्रो स्पाइरिङ पार्टनर पाएका थियौं । त्यसले आफ्नो कमजोरी सच्याउन सहयोग गर्‍यो, जसको नतिजा सागमा देखियो,’ मुख्य प्रशिक्षक थापाले भने, ‘हाम्रो प्रतिद्वन्द्वी भनेकै भारत हो, अरुलाई पराजित गरिरहेका थियौं । आठौं साफ (२ स्वर्ण) भन्दा राम्रो गर्ने लक्ष्य थियो, हासिल गर्‍यौं ।’
उनी २१ वर्षे सनिल शाहीको प्रदर्शनबाट निकै खुसी छन् । बक्सिङ ग्लोब्समा अभ्यस्त हुन थालेको तीन वर्षमै दक्षिण एसियाली च्याम्पियन बनेका उनीबारे प्रशिक्षक थापाले भने, ‘उनले सुरुबाट अन्त्यसम्मै स्तरीय टेक्निक, ट्याक्टिससहित खेले । उनको स्पिड पनि राम्रो छ । भूपेन्द्रले प्रतिद्वन्द्वीलाई लखेटेर खेल्दै जिते । टेक्निकल खेलेको भए गाह्रो हुनसक्थ्यो । मीनुले पनि फाइनलमा एकदमै राम्रो खेलिन् ।’
भारतीय खेलाडीले पनि आफ्नो कौशलअनुसार खेलेको उल्लेख गर्दै उनले भने, ‘हाम्रा खेलाडी स्वदेशमै खेल्दैथिए । उनीहरूको जितको इच्छाशक्तिले काम गर्‍यो । भारतीय खेलाडीलाई यत्तिको चुनौती दिनु धेरै ठूलो पक्ष हो । यसबाट हामीले चाह्यौं भने गर्नसक्छौं भन्ने देखायौं । दीर्घकालीन योजनासहित नियमित प्रतियोगिता र प्रशिक्षण गर्ने हो भने हामी भारतलाई चुनौती दिनसक्छौं ।’
नेपालले एसियाली खेलकुद २०१० को एकमात्र पदक (कांस्य) पनि बक्सिङबाटै ल्याएको थियो । त्यो पदक दिलाएका दीपक महर्जन भन्छन्, ‘करिब तीन वर्षयता नियमित ट्रेनिङ गरिरहेका छन् । त्योभन्दा पनि स्वदेशमै खेल हुँदा हार्‍यो भने बेइज्जत हुन्छ भन्ने जोसले काम गर्‍यो । दर्शकको हुटिङले उत्तिकै शक्ति दिएको थियो ।’
आर्मीको प्रभाव
पदकधारी चार खेलाडी सशस्त्र प्रहरी बलमा छन् । १० बक्सर आर्मीमा आबद्ध छन् । विभागीय टिमबाहिरका एक्लो खेलाडी हुन् सनिल । दाङबाट बक्सिङ करिअर सुरु गरेका भूपेन्द्र पुलिसका जागिरे हुन् ।
३० वर्षीय यी रोल्पाली भन्छन्, ‘फाइनलमा धेरै गाह्रो थियो ।
निकै माथिल्लो वरीयताका खेलाडी थिए । उसको खेल अध्ययन गरी कमजोरी पत्ता लगाएर रणनीति
बनायौं र त्यहीअनुसार खेल्दा सफल भइयो ।’ मीनु र सनिलले पनि
कमजोरी पत्ता लगाएरै आफ्नो रणनीति बनाएका थिए, सफल भए पनि । ‘बाह्रै महिना तयारी गर्ने हो भने भारतजस्तो बलियो टिमविरुद्ध प्रतिस्पर्धा गर्न गाह्रो छैन,’ उनले भने, ‘यसबारे खेलकुद परिषद्ले सोच्नुपर्छ ।’
स्वर्ण विजेता मीनुको यो चौथो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उनले ९ वर्षअघि सेनामा भर्ती भएपछि मात्रै पन्चिङ ब्यागमा मुक्का प्रहार गर्न थालेकी थिइन् । सनिलले दोस्रो प्रतियोगितामै स्वर्ण चुमेका हुन् । भूपेन्द्रले आधा दर्जन प्रतियोगिताको अनुभवपछि पदक जितेका हुन् ।
नेपालले ३५ वर्षअघि भएको पहिलो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा चार स्वर्ण जितेको थियो । पुरुष फुटबल टिम, म्याराथन धावक वैकुण्ठ मानन्धरसँगै बक्सरद्वय स्वर्गीय दलबहादुर राना र पुष्करध्वज शाहीले स्वर्ण दिलाएका थिए । दलबहादुरले फेरि तेस्रो संस्करणमा स्वर्ण चुमे । चित्रबहादुर गुरुङले चौथो साफमा स्वर्ण दिलाए । त्यसपछि बक्सिङको स्वर्ण हात पार्नका लागि साफ काठमाडौं फर्कनुपर्‍यो ।
सन् १९९९ को आठौं साफमा थापामगर दाजुभाइ प्रकाश र रामचन्द्रले स्वर्ण दिलाए । त्यसपछि चार संस्करणमा नेपाल बक्सिङमा स्वर्णविहीन नै भयो । पदक हात पार्न पनि मुस्किल हुन थाल्यो । ओरालो लागिरहेको यही बेला फेरि साग (सन् २००४ पछि प्रतियोगिताको नाम फेरिएको) जन्मस्थल फर्कियो । र, नेपालले बक्सिङमा पहिलो संस्करणकै सफलतालाई पनि उछिन्दै ३ स्वर्ण दिलायो । सातदोबाटोको कराते हलमा पाएको यो सफलतालाई जोगाइरहन सक्ला त ? अथवा, आठौं साफपछि ओरालो लागेजस्तै बक्सिङ खस्किने हो ? समयले नै बताउने छ ।

खेलकुद

पीपीएल एकदिन पछाडि

- कुशल तिमल्सिना,दीपक परियार
पोखरा प्रिमियर लिगको शनिबार पोखरामा आयोजित ट्रफी सार्वजनिक कार्यक्रममा सहभागी ६ टिमका कप्तान । तस्बिर ः हेमन्त श्रेष्ठ/कान्तिपुर

(पोखरा) - दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता वर्षाका कारण एक दिन पछि धकेलिएको छ ।
शनिबारसम्म वर्षा हुने पूर्वानुमान रहेकाले प्रतियोगिताको आइतबार उद्घाटन गर्ने निर्णय गरिएको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी गराए । पश्चिमी वायुको प्रभावले देशभर वर्षा भइरहेको छ । पोखरा क्रिकेट रंगशालामा शनिबार निर्धारण गरिएको उद्घाटन आइतबार हुनेछ । पहिलो खेलमा साबिक विजेता पोखरा पल्टन र नवप्रवेशी काठमाडौं गोल्डेन्स वारियर्स भिड्ने छन् ।
६ टोलीसम्मिलित प्रतियोगितामा पुस ८ सम्म लिग चरणका खेल हुने तालिका थियो । तर एक दिन सरेपछि पुस ९ सम्म लिग चरणको खेल हुनेछ । पुस १० मा इलिमिनेटर र पुस १२ मा फाइनल हुनेछ । प्रतियोगिताको शीर्षस्थानमा रहने टिमले सिधै फाइनल खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टिमबीच इलिमिनेटर खेल हुनेछ । ‘पानी रोकिएको अवस्थामा शनिबार खेल खेलाउन त मिल्छ तर हामीले जोखिम लिन चाहेनौं,’ लामाले पत्रकार सम्मेलनमा भने, ‘एक दिन सारिए पनि अन्य खेलतालिका सबै यथावत राखेका छौं ।’
प्रतियोगितामा पोखरा पल्टन, काठमाडौं गोल्डेन्स, विराटनगर टाइटन्स, चितवन राइनोज, धनगढी ब्लुज र बुटवल ब्लास्टर्स सहभागी छन् । पोखराको शरद भेषावकर, काठमाडौंको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्ल, विराटनगरको प्रदीप ऐरी, चितवनको पारस खड्का, धनगढीको दीपेन्द्रसिंह ऐरी र बुटवलको सोमपाल कामीले कप्तानी गर्नेछन् । प्रदीपले पहिलोपल्ट फ्रेन्चाइज लिग क्रिकेटको कप्तानी गर्दै छन् ।

ट्रफी सार्वजनिक
दोस्रो संस्करणको पीपीएल ट्रफी शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका छन् । कप आकारको ट्रफी अघिल्लो संस्करणकै मिल्दोजुल्दो छ । पहिलेको तुलनामा परिष्कृत बनाइएको आयोजकका निर्देशक लामाले दाबी गरे ।
ट्रफी सार्वजनिक पछि मुख्यमन्त्री गुरुङले क्रिकेटको लोकप्रियता बढाउन र विदेशी खेलाडीलाई समेत आकर्षित गर्न व्यावसायिक प्रतियोगिता जरुरी रहने बताए । पीपीएलले खेलाडीको एक्सपोजरका साथै स्थानीय क्रिकेटरलाई प्रोत्साहन मिलेको दाबी गरे । मुख्यमन्त्रीले पीपीएलको सफलतामा आफ्नो सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाए । ‘खेलकुद
पर्यटनलाई हाम्रो सरकारले आफ्नो प्रतिष्ठासँग जोड्न खोजेको छ । त्यसैले यस्ता प्रतियोगितालाई सहयोग गर्न हामी उत्सुक छौं,’ उनले भने ।

खेलकुद

१३ औं सागमा नेपाली बक्सर

- कान्तिपुर संवाददाता

पुरुष
स्वर्ण : भूपेन्द्र थापामगर (–६४ केजी)
स्वर्ण : सनिल शाही (–६० केजी)
रजत : गणेश प्रधान (–८१ केजी)
रजत : आशिष दवाडी (–९१ केजी)
कांस्य : अर्जुन सिगु (–९१ केजी)
कांस्य : पूरन राई (–५६ केजी)
कांस्य : सुशील थापामगर (–४९केजी)
कांस्य : विकास लामा (–६९ केजी)
कांस्य : तेजबहादुर देउवा (–५२ केजी)
महिला
स्वर्ण : मीनु गुरुङ (–५४ केजी)
रजत : संगीता सुनार (–६० केजी)
रजत : ललिता महर्जन (–४८ केजी)
रजत : माला राई (–५१ केजी)
रजत : पुनम रावल (–६४ केजी)
कांस्य : चन्द्रकला थापा (–५७ केजी)


दक्षिण एसियाली खेलकुद
नेपालले बक्सिङमा जितेका पदक
वर्ष/स्थान स्वर्ण रजत कांस्य कुल
१९८४/काठमाडौं २ ५ १ ८
१९८५/ढाका – १ ६ ७
१९८७/कोलकाता १ ४ ५ १०
१९८९/इस्लामावाद १ ४ ६ ११
१९९१/कोलम्बो – ३ ७ १०
१९९३/ढाका – २ ७ ९
१९९५/मद्रास – – ९ ९
१९९९/काठमाडौं २ ५ २ ९
२००४/इस्लामावाद – १ ५ ६
२००६/कोलम्बो – १ ४ ५
२०१०/ढाकामा – १ १ २
२०१६/गुवाहाटी–सिलोङ – – ३ ३
२०१९/काठमाडौं–पोखरा ३ ६ ६ १५
हालसम्मको पदक ९ ३३ ६२ १०४

Page 17
कोसेली

राशिज्ञान : नेपालको कि इराकको ?

- सौरभ

विवाद
‘हुन ता इस्वी ३१९ भन्दा पहिले नै रोमकहरूले आविष्कार गरेका र यवनहरूले समर्थन गरेका मेष आदि बाह्र राशिका नाम भारतमा आएका थिए । तर, भारतीयहरूले ती नाम अलिकति फरक पारेर बदले । जस्तै : यमलको मिथुन, अजको मकर, कुम्भबाहक मनुष्यको कुम्भ ।’ –बाबुराम आचार्य, प्राचीन नेपाल, पेज २, २०२६ ।
‘राशि ज्ञान बेबिलोनको हो र जोडियाकको अर्थ यवृत्त हो, ज्योतिषबाट बनेको होइन ।’ –पाण्डुरङ वामन काणे, धर्मशास्त्रका इतिहास, पेज २७९ र २९२, खण्ड ४ ।
‘अंग्रेजी जोडियाक ग्रीक शब्द जोडिकोस हो अर्थात् जनावरबाट बनेको हो ।’ –जोन रथवाम, अ न्यु डेरिभेटिभ एन्ड इटिमलजिकल डिक्सनरी अफ सच इंग्लिस वर्क्स एज ह्याभ देयर अरिजिन इन ग्रीक एन्ड लेटिन ल्यांग्वेजेज, सन् १८३८ ।
यो त्यतिबेलाको पुस्तक हो, जतिबेला आचार्य र काणे जन्मेका थिएनन् ।

आयोनियन ग्रीस
आचार्यको यवन आयोनिया हो, जसलाई अरिस्टोटलले ग्रीस नामले विस्थापित गरे । ग्रीक देवता अपोलोलाई सूर्यदेव मानिन्छ । अर्थात् सूर्यबोधक संस्कृत अलर्कको रूपान्तरण हो— अपोलो ।
डेल्फीमा भविष्यवाणी गरिन्थ्यो । त्यो अत्यन्त प्रख्यात चलन थियो इसाई मतको प्रकोप सुरु हुनुअघि । डेल्फी दलान शब्दबाट बनेको हो । भविष्यवाणी गरिने स्थान समर्पित थियो अपोलोप्रति । त्यस भविष्यवाणीलाई भनिन्थ्यो, सूर्यको प्रकाश अर्थात् पूर्वको ज्योतिष शब्दलाई ग्रीकहरूले सूर्यको ज्योतिका रूपमा लिएको स्पष्टै छ ।
भविष्यवाणी गर्ने व्यक्ति महिला हुन्थिन् । तिनलाई भनिन्थ्यो पाइथिया । यो अजिंगरबोधक ग्रीक शब्द पाइथनबाट बनेको हो । जुन पाइथन मोलुरस मात्रै होइन, कुनै पनि पाइथन ग्रीसमा त छोडिदिऊँ युरोपमै हुँदैन । पाइथन शब्द बनेको हो फणी अर्थात् शिवको काँधमा भएको मानिने गोमन (नाजा नाजा) बाट, जुन युरोपमा हुँदैन ।
तिनको आसन त्रिख्ट्टुी हुन्थ्यो, ॐफलमाथि । यो ॐफल भनेको ढुंगाको जलहरी हो, जसको बीचको प्वालबाट चिसो बाफ आइरहन्थ्यो ।
माथिको दुई वाक्यबाट स्पष्ट छ— पूर्वको जलहरीलाई तिनले उल्ट्याए र त्यसमाथि त्रिखुट्टी राखे । प्वालबाट आउने बाफले त्यो कुरा भनिरहेको छ । ज्ञात होस्, भुइँकटहरजस्तो देखिने ॐफल तिनको संग्रहालयमा आज पनि छ ।
पाइथियाको दुर्बोध्य अर्थात् आफैंले अर्थ लगाउनुपर्ने भविष्यवाणीलाई ओराकल भनिन्थ्यो । ओराकल शब्द बनेको हो— पूर्वको शब्द अड्कलबाट । यसैले ओराकल दुर्बोध्य हुनुको अर्थ तिनले नबुझेको । पहिला नै भविष्यका बारे जान्ने ज्ञान रोमनहरू वा ग्रीकहरूसँग थियो भने पाइवादीहरू (प्रोटो इन्डोयुरोपियन भाषाका हिमायती गफीहरू) ले ठान्नेजस्तो किन भविष्यवाणी (फोरकास्ट) स्थान भन्ने शब्द नभएको ?

कृतिका
ओरियन र क्लेप्टो शब्द २८०० वर्षअघिको मानिएको होमरको इलियडमा आएको छ । यो राहु र केतु हो । इलियडको खेफ्लोस पनि केतु हो र ग्रेयोन ग्रहण हो । यसो भएपछि आचार्यले रोमनहरूलाई दिएको श्रेय यसै पनि गलत भएको छ ।
२७०० वर्षअघि बेबिलोनियन ज्योतिषशास्त्रमा अहिले हामीले प्रयोग गरिरहेका राशिचिह्नहरू प्रयोग गरिन्थ्यो भन्ने कुराको खासै प्रमाण छैन । (नेट) नेटले यसो किन भनिरहेको छ, उसको रहे सहेको आधार पनि असुर वाणपालले संग्रह गरेका ‘क्युनेइफर्म’ लिपिको अध्ययनबाट प्राप्त जानकारी मात्र हो । यसर्थ बेबिलोन (उत्तरी इराक) मा केन्द्रित काणेको मन्तव्य पनि सही ठहरिँदैन ।
६ वटा कृतिकाहरूले पालनपोषण गरेकाले शिवपुत्र कुमारको नाम कार्तिकेय भयो, जसलाई षडानन पनि भनिन्छ भन्ने हाम्रो परम्परागत लेखोट छ । यो लेखोट रामायणको हो, जो कम्तीमा ३३०० वर्षपूर्वको देखिन्छ ।
कृतिका नक्षत्र अर्थात् ६ वटा ताराहरूको एक जमात हो । यसलाई ग्रीकहरूले पालिसेडस भन्दछन् । यो पालित.पाली, षडा.सेडसबाट बनेको स्पष्टै छ । फेरि कसरी ग्रीक र बेबिलोनियनहरूले नक्षत्रको ज्ञान स्वयं हासिल गरे ? बुझिनसक्नु छ । यद्यपि कृतिका वेदमै आउँछ ।
(कृतिका शब्द मात्रै होइन, ग्रीक भनिएका अन्य शब्दको बनोटको अवधारणा चीनको दक्षिण युनानको एक वनस्पतिबाट आएको हो भन्ने कुराको व्याख्या गर्दा यहाँ झन्डै १५०० शब्द थप्नुपर्ने हुन्छ ।)

सही अर्थ
योनिवाल हो जनावरको मूलरूप । जसरी अवनिवाल बन्यो ओइनवार शब्द तराईमा । मानिसले ८४ लाख जुनी (योनि) मा जन्म लिइसकेपछि मात्रै फेरि मानिस हुन पाउँछ भन्ने पूर्वीय मान्यता नै छ । अर्थात् भेडाको जुनी, वृषको जुनी भएको मानव जीव भन्ने अर्थमा योनिवाल भन्ने शब्द आयो । यसैले जनावरबोधक ग्रीक शब्द जोडिकोस नै पनि मौलिक ग्रीक होइन ।
र, के भने भेडाको जुनी, वृषको जुनी भएको मानव जीवको मान्यतामा जनावरमूलक राशि ज्ञान स्थापित भयो । हिमालयपार तिब्बत चीनमा पनि जनावर आधारित राशि र वर्षहरू हुने भएकाले पनि जनावर आधारित राशि ज्ञान मध्य एसियायी वा युरोपियन होइन भन्ने टड्कारो छ ।‘जुनोटिक डिजिज’ को अर्थ आज पशुबाट प्रसारित हुने रोग भन्ने लागे पनि मूल अर्थ यौनरोग हो । यसैले जीवन शब्दको मूल यौन हो ।

‘हलिस्टिक’ मानवहरू
चार राशि आफूअनुकूल कान्यकुब्जीहरूले बदले भन्ने मन्तव्य (अक्षर ष : एक उदाहरण, ७ जेठ २०७०, कान्तिपुर) पछि यो कहाँ लेखिएको छ ? भन्ने प्रश्नहरूको ओइरो लाग्यो । केही मित्रहरूले तर्क गरे, हजार वर्ष जतिको मुसलमानी शासनले इन्डियामा रहेका सामग्रीहरू ध्वस्त पार्दा त्यो जानकारी पनि ध्वस्त हुन पुग्यो होला ।
अभिलिखित साक्ष्य (ट्यान्जिबल इभिडेन्स) का आधारमा मात्रै तर्क र निर्क्योलको निर्माण गरेकाले नै मार्क्सवादले फेल खाएको । हलिस्टिक स्कुलका अनुयायी प्रश्नकर्ताले त्यसैतर्फ सोचे हुन्छ । नेपालमा अहिले त्यस स्कुलका दुई शाखा पूर्वीय अनुदारवाद र उदार वामपन्थवाद त्यस्तो अनुसन्धानमा ज्यान फालेर लागेका छन् ।
पंक्तिकार खोक्रो हलिस्टिक स्कुलको अनुयायी होइन र किमार्थ हुने पनि छैन । हलिस्टिक तत्त्व (इलेमेन्ट वा स्रोत) को अस्तित्व छ भन्नेमा मात्रै आधारित छ । तर, तत्त्वहरूको यौगिक (कम्पाउन्ड) बनेपछि त्यसले तत्त्व छँदाको रसायनिक र भौतिक दुवै गुण गुमाएर नयाँ गुण लिन्छ । यो सामान्य विज्ञानको सोझो नियम हो । यौगिक निर्माणभन्दा पहिलेको गुणको स्रोत हुँदैन, छैन ।

बेबिलोनिया र वेद
‘बेबिलोनियन एस्ट्रलजी त्यस विषयको पहिलो सुसंगठित शास्त्र हो, जसको उठान विक्रम पूर्व दोस्रो हजार वर्षमा भयो । यो ३८०० वर्षअघिको कुरा हो, जुन क्युनेइफर्म लिपिबाट ज्ञात हुन्छ ।.... सुरुका पाँच युरोपियन ग्रहहरू बेबिलोनियन देवताहरूको सोपान बराबर यसरी चिनिन्थे— जुपिटर.मार्दुक, भिनस.इस्तार, स्याटर्न.निनुर्ता, मर्करी.नाबु, मार्स.नार्गल ।’ (नेट)
एस्ट्रलजी शब्द तारा वा सिताराबाट बन्ने हो । रोमन देवता जुपिटर ऋग्वेदको सूर्यदेवबोधक दायुस पितरबाट बनेको हो भन्ने सर्वज्ञात छ । मार्दुकको साथमा सुनुनु नाम भएको कुकुर हुन्छ । र, यमराजका पनि श्याम र सम्बल नाम भएका कुकुर । यसैले मार्दुक मारा हो । भिनस शब्द वेणुबाट बन्ने विणावादिका सरस्वतीलाई भनिएको हो । यसैले शुद्ध रूप ईश्वरी हो, इस्तार होइन । मर्करी पूर्वको मकर हो, मार्स मारा नै हो । र, नार्गल नर्क हो । अर्थात् बेबिलोनियन क्युनेइफर्मका जानकारीमा कुनै मौलिकता छैन ।
र, वेद बढीमा ३७०० वर्ष पुरानो मानिएको छ । (माइकेल विजेल) तर, वेदमा यति धेरै नक्षत्रहरूको सूची आउँछ, जसले यस शास्त्रमाथिको विकसित ज्ञानलाई प्रस्तुत गर्छ । क्युनेइफर्मभन्दा कान्छो हो भने यति धेरै विकसित ज्ञान हुन सय वर्षमा सम्भव नै छैन ।
र, के पनि भने रोमको स्थापना नै २७०० वर्षअघि भएको मानिएको छ भने उसले ऋग्वेदबाट टिपेको जुपिटरचाहिँ ३८०० वर्षअघिको बेबिलोनियन मार्दुकसँग कसरी दाँजिन सक्छ ? पश्चिमाहरूमा आफूलाई प्राचीनतम देखाउने कसरत उदेक लाग्दै स्तरको छ । यसैले विजेलको कुरा मान्य हुनै सक्दैन ।
नेपालका केही वस्तुहरूको फाइलोजेनेटिक अध्ययनले त्यसको मूल नेपाल नै देखाएकाले र वेदसँग मिल्न गएकाले यहाँ वैदिक प्रसंगहरू उल्लेख गर्नुपरेको हो ।

जन्तर र जनै
हरिणको सिङबीचको चन्द्रमालाई लिएर हरिशचन्द्र भनियो— यस्तो अघिल्लै लेखमा लेखियो । यही चन्द्रमा हो, जसले तिथिको निर्धारण गर्छ । त्यो पात्रोलाई लुनर क्यालेन्डर भनिन्छ । हरिशचन्द्र ऋग्वेदमै छ । छोरा रोहितको एउटा अर्थ हरिण नै हो । पुराणमा आएपछि मात्रै उसकी पत्नी शैब्या देखापर्छिन्, जसको अर्थ शिवानी हो ।
हरिणबोधक हरिश शब्द सम्भवतः एतरेय ब्राह्मणमा आएको छ पर्वतको सम्बन्धमा । र, यो पर्वतले हिमालय र बिन्ध्य संकेत गर्ने कुरा त्यसका विज्ञहरूले गरेका छन् । (मेकडनेल र किथ) यद्यपि बिन्ध्यको अर्थ छैन लेखिसकियो । (पारियात्र र महामेरु, कान्तिपुर) यसरी हरिणको शिरमा बसेको चन्द्रमा यावत् चन्द्रपात्रो (लुनर क्यालेन्डर) को मूल स्रोत हो । त्यसो भएपछि चन्द्रपात्रोमा आधारित कथित जोडियाक रोमन, बेबिलोनियन वा ग्रीक हुन जाने कुरै भएन । यसैले जोडियाकमा जति जनावरहरू आउँछन्, ती शिवलेककै छन् ।
अंग्रेजी शब्द टाइड तिथिबाट बन्ने हो, जब औंसी र पूर्णिमाको समय पारेर ज्वार (एब टाइड) र भाटा (निप टाइड) जलराशिमा चल्दछ । कर्णालीले बनाइदिएको र गण्डकीले विस्तारित गरिदिएको नेपाल सीमापारि २६० किलोमिटर परको गंगा टाइडल रिभर हो, जसको मुख हुग्लीमा ज्वारभाटा चल्दछ ।
हिमालयको शालिग्राम जुन समुद्रको पिँधबाट निस्केको मानिन्छ, त्यो टेथिस सागरको नाम यही तिथिबाट रहेको हो । ग्रीक पुराकथामा इयोस सूर्योदयकी देवी हो, जसको शुद्ध रूप उषा हो । उसको पतिको नाम तिथोनस तिथिबाटै बन्ने हो । ग्रीक पुराकथाका पात्र थेटिस र पेलेयुसको मूल रूप तिथि र पला हो । ग्रीक स्थान नाम थ्रेस, इथाका, चथोनिस पनि तिथिबाटै बन्ने हो । यही तिथि शब्दबाट इथियोपिया बनेको छ, जसको छेउको लालसागरमा भाटा आएका बेला त्यो तरेर मोशे जेरुसालेम लाग्छन् र जहाँबाट जेनेसिससहित ओल्ड टेस्टामेन्टको लेखनीको थालनी हुन्छ ।
पूर्णिमाको उकालोसँगै हरिणको सक्रियता बढ्छ र ओरालोसँगै घट्छ भन्ने मान्यताले हरिणको शिरमा अझ शिवको शिरमा चन्द्रमा विराजमान हुन पुगेको हो, जसलाई ऋग्वेदले उतिबेलै टिप्यो ।
(सुश्रुतसंहिताका टीकाकार अत्रिदेव गुप्तले पनि पूर्णिमासम्म पुग्दा प्रतिदिन एउटा फूलको दरले फूल फुल्दै जाने र औंसीसम्म पुग्दा प्रतिदिन एउटाको दरले फूल झर्दै जाने, सोमलताको कुरा गरेका छन् । तर, यो एक मिथ्या कुरा हो ।)
अब अथर्व वेदले भन्यो– ‘हरिण सिङको जन्तर लगाइन्छ ।’ जड कुरा यहीँ छ । हरिण (अजाक्स अजाक्स) ग्रीसमा हुँदैन । बरु शिवलेक शृंखलामा हुन्छ ।
राशि सूचीमा परेको भेडाको सिङ बजाइन्छ, वृष र मिथुनको गोलोचन र कछुवाको खबटा घरमा राखिन्छ, गंगटो र बिच्छीको अंकुश, बाघ, बँदेल, घडियालको दाँत जन्तरमा प्रयोग गरिन्छ, कथित नागमणि र गजमणिको पनि पूजा हुन्छ, बाघको बाजु पनि पहिरिन्छन्, हात्तीको पुच्छरको रौंको पनि कडा लगाउँछन् । माछा आफैंमा सगुन हो । अर्थात् जनावरमा रहेको शक्तिविशेषको मानव विशेषमा स्थानान्तरणको रूप हो जन्तर, जो स्वयं बनेको हो योनिवालबाट ।
जनैको पहिलो उल्लेख तैतिरीय संहितामा आउँछ– काणेले लेखे । (पेज २१५, खण्ड १) तैतिरीय संहिता लेखनको मूल स्थान पूर्वी मध्यपहाड देखिएको छ पनि । (जुन अर्को लेखमा लेखिने नै छ) अर्थात् जनैको मूल अर्थ अब ‘द्विजन्म’ वा पुनर्संस्कार भन्ने देखिएन । शैव मतको जन्तर पहिरनलाई तैतिरीय संहिता लेखिँदासम्ममा वैष्णव मतको जनैले विस्थापित गरिसकेको देखिन्छ ।
यद्यपि जनैले नाइटो छोएको हुनुपर्छ । नाइटोभन्दा माथि भयो भने आयुक्षय र तल भयो भने यशक्षय हुन्छ (स्मृतिसार) ले स्पष्टै भन्छ— विष्णुको नाइटोबाट निस्केर ब्रह्माको आसनमा पुगेको कमल डाँठको पहिरनबाट जनैको प्रादुर्भाव भयो । जुन कथा बढीमा १६०० वर्षअघिको मानिने पद्म पुराणको हो । कमल नेपालको रैथाने होइन पनि ।
कमल डाँठको पहिरन किन पनि भनिएको हो भने चौथो शताब्दीका कालिदासको शाकुन्तलमै कमलनाल पहिरेको प्रसंग आउँछ । र, छैटौं शताब्दीको हर्षचरितमै पनि कमलका डाँठका रेसाबाट बुनिएको धवलवस्त्रको प्रसंग आउँछ । यसैले कमलको वैज्ञानिक जिनस नेलुम्बो नालुबाट बनेको हो । यसर्थ मनसुनकालको श्रावण महिनामा पानी भरिएको पोखरीबाट हुनसम्म माथि उठेर पानी बाहिर निस्केको कमल डाँठ पहिरेर पुनर्संस्कार गर्ने चलन पछिबाट रैथाने भारद्वाजी (थेस्पेसिया लाम्पास) को रेसा पहिरिने, ३ वर्ष फेर्न नपर्ने गरी सुनको, दुई वर्ष फेर्न नपर्ने गरी चाँदीको र एक वर्ष फेर्न नपर्ने गरी तामाको भन्दै जन्तरलाई यसरी विस्मृतिको खाडलमा पछिल्ला कर्मकाण्डीहरूले पुर्‍याइदिए, मानौं जन्तर पहिरिने व्यक्ति पूर्ण संस्कारहीन हो । तिनले जन्तरमा हुने पशु अंगलाई अधिकांश इन्डियामा मात्र पाइने अर्धबहुमूल्य पत्थरले पनि विस्थापित गरे । यसरी किन्दा हीराको भाउ, बेच्दा अदुवाको भाउ हुने वस्तुको व्यापार नेपालमा बढाउँदै लगे । जन्तरमा नश्लवाद वा जातीयतावाद छैन, जति पत्थरमा छ ।
जन्तरको अंग्रेजी समानार्थी, टालिस्मान हो । तिलस्मीबाट टालिस्मान बनेको हो । अरूले जस्तै अरेबिक मूलको ठानेर हुनुपर्छ आप्टेले आफ्नो शब्दसूचीमा तिलस्मीलाई ठाउँ दिएका छैनन् । तर, हाम्रो पहाडमा निधारमा सेतो टाटो भएको गाईगोरुलाई तिल्के र सेतो छिर्बिरे कानयुक्त बाख्रोलाई तिल्कन्ना भन्ने चलन छ । यसैले सेतो थोप्लाहरूले युक्त तिल्के प्राणी हरिणको अस्मी अर्थात् जीवाष्म जन्तर भएकाले तिलस्मी हुन पुगेको स्पष्ट छ । यसैबाट नारीहरूले पहिरिने जन्तर तिलंहरी (पशुपति र हरिण सिङ दुवै) भएको हो ।
अब धर्मराज थापाले लेखेजस्तो लमजुङको तिलाहारको अर्थ लहरै सुतेका सुंगुर भन्ने ठहरिएन, हरिण क्षेत्र भयो । र, के भने रैथाने आक्रमणकारी तिलहरीका ठाउँमा प्रतिरक्षात्मक मंगलसूत्रको प्रयोग ठाडै गलत हो भन्ने देखिन्छ । विवाहित नारीको तिलहरी पहिरनले तिनलाई शिवानीमा परिणत गर्छ । काँडेदार तिलहरीको अर्थ हो भुवायुक्त हरिण सिङ ।

दुम्सीका काँडाहरू पहिरिन्छन् नेपाली केटाहरूले व्रतबन्धको अघिल्लो रात र इन्डियनहरूले कुशको घाँस । पद्म पुराण बंगालमा बनेको हो भनिएबाट र बंगाली महिलाहरू जनै लगाउँछन् भन्ने काणेले लेखेबाट जनै यजुर्वैदिक याज्ञवल्कको जनकपुरबाट तैतिरीय संहिताको पूर्वी मध्यपहाडमा उक्लियो भन्ने देखिन्छ । त्यसले दुम्सी विशेष (हिस्ट्रिक्स ब्रास्युरा, न कि इन्डिका) मा आधारित एनिमिजमलाई ध्वस्त पारेको पुष्टि हुन्छ ।
तैतिरीय आरण्यकमा आएको प्रसंगमा जनैसँगै दाहिनेपट्टि हरिणको छाला हुनुपर्छ भन्ने उनको उल्लेखले नै जन्तरलाई जनैले विस्थापित गरिदियो भन्ने पनि स्पष्ट हुन्छ । छेवरकै रूपान्तरण हो छाउपडी– छुवाछूतको थालनी यसरी भयो, जसमा मस्टा पुज्ने पेनेवा भनिने बोन ब्राह्मण–क्षत्रीहरू (गैरजातीय ज्ञानीहरू) अञ्जानमै मिसिन गए ।
र, बिच्छी पनि पूर्वी शिवलेकको फेदमा पाइने हट्टेनटटा टमलस बुझिन्छ, जसलाई इन्डियन रेड स्कर्पियन भनिन्छ, नकि हेटेरोमेट्स कोभारिक वा बाजुराजस्ता उचाइमा देखिने अन्य जातिका बिच्छीहरू ।

भएको र हुनुपर्ने
एरिस/बरुवाल भेडा, जसको बारेमा छुट्टै १२०० शब्दहरू लेख्नुपर्ने हुन जान्छ जुन यहाँ सम्भव छैन ।
टरस/अछामी साँढे, जसलाई जेबुगाई वा बस इन्डिकस अन्तर्गत राखिएको छ । यहाँ लुलुसाँढे भनिएन, किनभने त्यसमा बस टरसको जिन छ ।
जेमिनी/मिथुन गाई– ऋग्वेदमा आउने यम यमीको दाजु बहिनी जोडालाई ग्रीकहरूले जेमिनी पढे । त्यसलाई यौनबोधक मैथुन पढेर पूर्वकाहरूले स्त्री–पुरुष चिह्न प्रयोग गरे । इजिप्टको क्लियोपेट्रा स्वयं ग्रीक मूलकी हुन्, जसको आफ्ना भाइहरूसँग विवाह भएको थियो ।
हुनुपर्ने मिथुन गाई (बस फ्रन्टालिस) हो । यो गौरीगाई (बस गौरस) को उपप्रजाति हो । गाईको मासु खाएबापत कुनै बेला सरकारलाई तिर्नुपर्ने दस्तुर मेकचन यही मिथुनबाट बनेको हो । यो अहिले आसाममा मात्र पाइन्छ । मेचेहरूले यसलाई नाम्बित भन्छन् ।
क्राब/गंगटो– ऋग्वेदको कर्क ग्रीक क्राब हुन गएको स्पष्टै छ । कर्कको अर्थ गंगटो मात्रै होइन, सेतो घोडा पनि हो । तर, संस्कृत साहित्यको श्यामवर्ण अर्थात् सेतो शरीर र कालो कान भएको अरेबिक मूलको हो । यसैले यहाँ कर्कको अर्थ घोडा हुने कुरा आएन । कर्कोटकको अर्थ सर्प हो, तर कर्कोटक टौदह निवासी होइन । अहिलेको मध्य पाकिस्तानी भूभागको हो । यसैले यहाँ गंगटो नै लिनुपर्छ ।
लियो/बाघ– संस्कृतको शार्दूलबाट इन्डियनहरूले सार मात्रै टिपेर सिंह र बाघ दुवैलाई शेर पढ्छन्, ग्रीकहरूले ल मात्रै टिपेर लियो र लाइन बनाए । हुनुपर्ने बाघ हो । विक्रमको १३ सयदेखि ३३ सय वर्षपूर्वको भनिएको सिन्धुघाटी सभ्यतामा पाइएको पशुपति छापमा बाघ नै छ । इन्डियाले महाकालीपारि खडा गरेको शिवलेक केन्द्रित जुलजिकल म्युजियममा ‘साबर टुथ्ड टाइगर’ नै छ सिंह छैन ।
भर्गो/हात्ती– भार्गवी भनेको कन्या हो, त्यही अंग्रेजीमा भर्जिन हुन्छ तर हुनुपर्ने भार्गव अर्थात् हात्ती हो । ग्रीकहरूले भार्गवलाई भार्गवी पढे, त्यसलाई भर्जिनको अर्थ दिएपछि पूर्वकाले कन्या भनेर सारे ।
लिब्रा/तिलित्स (गोनस वा भाइपर)– तराजु ग्रीस मात्रै होइन, युरोपकै होइन । तुला शब्द पहिलोपल्ट यजुर्वेदमा
आएको छ, जुन नेपाल तराईमा लेखियो । (हेर्ने तौलको आँखा दर्शन, असहमति) लिब्रा तराजुको बीचको लंगुरबाट बन्न गएको छ, जो पछि लिबर्टीमा बदलियो । हुनुपर्ने तिलित्स अर्थात् भाइपर हो । तिलित्स हुने ठाउँमा नै तुलाको परिकल्पना गरियो, वैद्यहरूले जीवविषको मात्रा मिलाउन तराजुको आविष्कार गरेका हुन् ।
स्कर्पियो/बिच्छी– संस्कृतको ‘श्ची’ टिपेर ग्रीकहरूले स्कर्पियो बनाएका छन् । यद्यपि वृश्चिकको अर्थ सनासो हो । अर्थात् बिच्छी, गंगटो, खजुर, गोब्रेकीरा सबै वृश्चिक हुन् । अहिले बिच्छी नै लिऊँ ।
सागिटारियस/बँदेल– ग्रीक चिह्नमा एउटा घोडारूपी मानवले धनु ताकिरहेको तस्बिर हुन्छ । के घोडारूपी मानव हुन सम्भव छ ?
विक्रमपूर्व ५ सयमा लेखिएको मानिएको भावगत्को १०.२१ मा धेनुकको अर्थ मानवरूपी गधा वा राक्षस भन्ने विवरण आएको छ । धेनुक अर्थात् गधा र धनुको अर्थमा अन्योल हुँदा ग्रीकहरूले त्यस्तो तस्बिर बनाउन पुगेका हुन् ।
इन्डियामा धानुकहरू कपास उधिन्ने धनुरूपी साधन लिएर हिँड्छन् । यसले बुझाउँछ, तिनको सामान बोक्ने प्राचीन सवारीसाधन गधा थियो । त्यसैबाट गधाबोधक धेनुक र गधाको स्वरबोधक ढेंचो आएको बुझिन्छ ।
शताब्दीअघि चितवनमा प्रशस्त वनघोडा हुने गरेको, डेढ शताब्दीअघि दोलखाबाट राजेन्द्रविक्रम शाहले वनघोडा झिकाएको दस्ताबेज रहेको र अहिले मुस्ताङमा दुर्लभ रूपमा पाइने गरेको भए पनि स्थानीय नाम कियाङ रहेकाले यस रैथाने गधालाई संस्कृतको धेनुक मानेर धनुअन्तर्गत नराखिएको कारण भने अर्कै छ । धेनुकको कुनै पनि अवशेष जन्तरमा प्रयोग हुने कुरा पाइएन ।
यसैगरी राशिमा स्याल परेको छैन, कुकुर परेको छैन, बाँदर पनि परेको छैन । तीनवटै उतिबेलैदेखि तिरस्कृत देखिन्छन्, स्यालको सिङको तिलस्मी अर्थ भए पनि । गैंडा परेको छैन खागको तिलस्मी अर्थ भए पनि । सम्भवतः चुरेको निकै तल भएकाले हुनुपर्छ । यद्यपि मोहनजोदारोको पशुपति छापमा हरिण र गैंडा दुवै छन् । धन्विनको अर्थ बँदेल हो ।
क्याप्रिकर्न/घडियाल– भेडा, घडियाल, हात्ती आदिलाई पनि मकर भनिन्छ । यो प्रिमोलर दाँत (मकह्रा) बाट जनावरलाई प्रयोग हुने शब्द हो । (हेर्ने एउटा नलेखिएको लेखोट, असहमति) ग्रीकहरूले यही मकर शब्दलाई टिपेर बाख्रा बुझाउने शब्द टिपे । पूर्वकाले भेडा चिह्न राख्नमा त्यसैको प्रयोग गरे । तर, सुरुमै मेष आइसकेपछि फेरि राशि चिह्नमा भेडा
कसरी दोहोरिन्छ ?
अक्वारियस/कछुवा– ग्रीक नामले पानीको भनेर मात्र बुझाइरहेको छ । अक्वारियसको मूल संस्कृत रूप तलको जस्तै अप्सा हो । हुनुपर्ने कछुवा (मेलानेजेनिस ट्रिक्यारिनाटा विशेष) हो भन्ने कुरा तल दिइनेछ ।
पिसेस/सहर माछा– संस्कृतको पानीबोधक अप्सा शब्दबाट अप्सरा (मूल अर्थ जलपरी), औसानी शब्द आउने हुन् । यहाँ ‘अ’ हराएर ‘पसा’ मात्रै बाँकी रहेको छ ग्रीकमा । यसैले माछालाई तिनले पानीको भन्ने अर्थमा लिए । माथिको अक्वारियस पनि अप्साबाटै आएको हो । इसथायलजी (मत्स्यविज्ञान) पनि यही असबाट आउने हो । तर, यो सहर माछा हो भन्ने कुरा तलबाट अनुमान गरिएको छ ।

पत्थरकृत्य
अज अर्थात् अग्नि मान्ने चलन छ । कौलाचारमा चढाइने बोका अग्नि मानेर नै हो । त्यसै भएर यो राशिको पत्थर मुगा बनाउने चलाखी गरिएको छ । शुभ रङ रातो भनेर तोकिएको छ ।
ब्राह्मिनी गाई सेतो हुन्छ । त्यसैले त्यसको पत्थरलाई सेतो हीरा बनाइएको छ ।
मिथुन गाईको अस्तित्वको हेक्कै नभएकाले त्यसको प्रतीक हरियो पन्ना बनाइएको छ । नभन्दै भार्गवलाई भार्गवी पढिएकाले त्यसको रङ पनि हरियो पन्ना भनियो । सहवास र विवाह नगरेका केटाकेटीहरू त्यो बेलामा हरिया रङका हुँदा रहेछन् ? आर.एल. स्टेभेन्सनको उपन्यास ‘ट्रेजरी आइल्यान्ड’ को पात्र हरित मानवजस्तो वा ‘स्टारवार्स’ को हरियो रगत भएको पात्र स्पोकजस्तो ? ढाँटेको कुरा मिल्दैन भनेको यही हो ।
कुम्भ भनेर भाँडाकै कुरा गरिएको हो भने त्यो पकाएपछि रातो हुन्छ । नीलो र कालो कसरी हुन्छ ? यसैले कालो रङको कुम्भक अर्थात् कछुवा छानिएको हो ।
पानीमा हुने भएकाले गंगटो राशिको पत्थर र रङ सेतो बनाइयो । उदाउँदा र अस्ताउँदाको सूर्य रङ सिंह र बाघको रङसँग मिल्ने भएकाले स्वामी सूर्य राखेर शुभ रङ रातो राखियो ।
बाँडाको उपकरण तुला भएकाले सुहाउँदो पत्थर हीरा र सेतो भनियो । तर, हीरा सेतो मात्रै हुँदैन, कालो झनै बहुमूल्य हुन्छ, नीलो र पहेंलो पनि हुन्छन् कुरै गर्ने हो भने ।
वृश्चिकले रातो मुगा लिएकोले रातै बिच्छी राखिएको हो ।
मकरको पत्थर नीलो र रङ कालो राखेबाटै थाहा हुन्छ, यो नीलो जलराशिमा बस्ने कालो रङको प्राणी हो, भेडा वा बोका होइन । मीनको पत्थर अहिले पुष्पराज र शुभ रङ पहेंलो नै मानौं । त्यसो गर्नेबित्तिकै यो सहर माछा हुन पुग्छ, जसलाई सौरी पनि भन्छन् ।
चलाखी कहाँसम्म भने नागमणि र गजमणि भनेर जनावरका अंग प्रयोग गर्ने जन्तरवादीलाई उल्लु बनाउन माणिक, पितराज मणि, सूर्यकान्त मणि, चन्द्रकान्त मणिजस्ता नामहरू पत्थरलाई दिइएको छ । तर, नारी र पुरुष जननेन्द्रियको प्रत्यंग विशेषहरूको नाम मणि नै हुने भएकाले मणि शब्द जैविक नै हो भनेर पुष्टि गर्छ । रैथाने शब्द मुन्टोलाई मुण्ड बनाउँदै मणिमा परिवर्तन गरेछ संस्कृतले नकि उल्टो ।

पुछारमा
ज्योतिषीय मूलक ज्योति शब्दको उत्पत्ति २६०० वर्षअघिको पाणिनीय व्याकरण र यास्कका निरुक्ति आदिमा खोजेर हुँदैन । त्यो ‘र’/हरिण सिङको ज्योति (जुधाइका बेला निस्कने झिल्का) को अर्थमा पनि आएको हो । अर्थात् भौतिक क्रिया (फिजिकल रियाक्सन) को नतिजा हो । र, नै पनि हरिशचन्द्र आएको भने टड्कारै छ । यसैले ज्योतिषमा मृगशिरा शब्दको प्रयोगले यो सबै रहस्यलाई खोल्छ नै ।
माथि लेखियो सहरको मूल रूप सौरी हो । यसो हुनेबित्तिकै माइसेनियन ग्रीकको लिनियर बी लिपिमा पुगिन्छ । र, त्यसपछि विक्रमको ४६०० वर्षपूर्वबाट फेरि पूर्वतर्फ लाग्नुपर्ने हुन्छ ।

Page 18
कोसेली

प्राग्ऐतिहासिक पर्व

साकेला किराँत राईको बसाइँसराइसँगै नेपालका प्रायः सहरमा पुगेको छ । अर्थात्, साकेला गाउँबाट सहरतिर पसेको छ । सहरबाट विदेशतिर पुगेको छ । सहरबाट मात्रै चीजहरू गाउँतिर जाँदैनन्, गाउँबाट पनि सहरतिर पस्दारहेछन् ।
- भोगीराज चाम्लिङ

जिन्दगीमा उमेर खाएर मात्र नहुने रहेछ— बल्ल अहिले साकेला प्राग्ऐतिहासिक संस्कृति हो भन्ने बुझ्दै छु । हलेसी क्षेत्रका राईहरूलाई नफापेर धेरै पहिला छाडेका कारण मलाई साकेला पर्वबारे खासै थाहा थिएन । दिक्तेल बहुमुखी क्याम्पस (खोटाङ) मा पढ्दा साथीहरूको पछि लागेर २०४९ सालतिर सोल्मा गाउँमा प्रथमपटक साकेला सिली (नृत्य) हेरेको थिएँ । गोलोगोलो घेरा बनाएर थुप्रै समूहमा दर्जनौं मान्छेले हात र खुट्टाको चाल मिलाउँदै सिली टिपेको अर्थात् नृत्य गरेको देख्दा जिन्दगीमा पहिलोपटक अचम्मित भएको थिएँ, ‘अरे कस्तो नाच हो यो !’
हामी त गाउँमा देउसी खेल्दा, नाटक देखाउँदा अथवा विद्यालयले आयोजना गर्ने कार्यक्रममा बढीमा चार–पाँच जनाको समूहमा नाच्थ्यौं । साकेलामा त दर्जनौं मान्छे एउटै गोलो घेरा बनाएर नाचिरहेका थिए । हर हिसाबले साकेला विशाल सामूहिक उत्सव देखिन्थ्यो । हो पनि रहेछ ।
अहिले साकेला किराँत राईहरूको बसाइँसराइसँगै नेपालका प्रायः सहरमा पुगेको छ । विदेशमा पनि जहाँजहाँ किराँत राई पुगेका छन्, त्यहाँत्यहाँ प्रसार भएको छ । अर्थात्, साकेला गाउँबाट सहरतिर पसेको छ । सहरबाट विदेशतिर पुगेको छ । सहरबाट मात्रै चीजहरू गाउँतिर जाँदैनन्, गाउँबाट पनि सहरतिर पस्दारहेछन् भन्ने एउटा सांस्कृतिक साक्ष्य हो— साकेला । सहरलाई ध्यानाकर्षण गर्ने हैसियत बनाइसकेको साकेलाले हरेक वर्ष उँधौली (छिरिनाम) र उँभौली (धिरिनाम) मा दुईपटक सहरवासीलाई झकझक्याइरहेको छ । आजबाट यस वर्ष (२०७६) को उँधौली जो सुरु हुँदै छ । साकेला किराँत राई समुदायले उँधौली र उँभौलीमा मनाउने थुप्रैमध्ये एउटा महत्त्वपूर्ण पर्व हो, भूमिपूजा हो जसको किराँत राई भाषामा थुप्रै नाम छन्— साकेल् (कोयी), साखेल् (दुमी), साकेन्वा (बान्तावा), वास (खालिङ), तोसी (थुलुङ), तोस (कुलुङ, नाछिरिङ) इत्यादि । लिम्बू, याख्खा, सुनुवार (कोइँच), थामी, जिरेल, सुरेल, हायुलगायतका किराँती समुदायले पनि उँभौली र उँधौलीमा साकेलाजस्तै पर्वहरू मनाउँछन् ।

साकेला विशाल सामूहिक नृत्य–उत्सव हो । तर, प्रारम्भमा पक्कै यस्तो रुपमा थिएन । सायद आदिम समयमा एक–दुई दर्जन सदस्यीय शिकारी झुन्डको खुसियाली अभिव्यक्त गर्ने क्रममा उद्विकास भएको थियो । यसो भन्न सकिने थुप्रै आधार अहिले पनि उपलब्ध छन् । किराँत राई मिथकहरूले त्यही बताइरहेका छन् । स्वयं ‘साकेला’ शब्दकै एउटा अर्थ त्यही हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा सिली (नृत्य) हो जसले साकेला पर्वलाई प्रस्टसँग सिकारी जीवनसँग जोडिदिन्छ ।
साकेला दुईवटा शब्द मिलेर बनेको समस्त शब्द हो— सा र केला । ‘सा’ का थुप्रै अर्थमध्ये एउटा हो मासु अथवा सिकार । ‘सिकार खेद्ने बाटो’ भन्ने अर्थमा उहिले नामकरण भएको भोजपुर, कटुञ्जे शिरको जंगलको नाम ‘साइलाम’ अहिले पनि प्रचलित छ, जसमा ‘साइ’ भनेको सिकार, ‘लाम’ भनेको बाटो हो (निराजन बतास, विसं २०६७, खोक्चिलिपा) । त्यस्तै ‘केल्’ भन्नुस् या ‘केला’ अथवा ‘केलाङ’ नै भन्नुस्, त्यसले अभिनय र नृत्यलाई जनाउँछ । जस्तो कि कोयी राई भाषा (तारामणि राई, विसं २०७१, साकेल्) मा ‘स’ को अर्थ ‘रूख’ र ‘केल्’ ले हाँसखेल या हलचल भन्ने अर्थ दिन्छ । हुन पनि रूखको फेदमा स्थापना गरिएको थानवरिपरि नै पूजा र नृत्य गरिन्छ साकेला मनाउँदा, भूमिपूजा गर्दा । त्यो रूखले प्रतीकात्मक रूपमा जंगल र सिकारी युगकै संकेत गर्छ । त्यसैगरी किराँत लिम्बूहरूमा प्रचलित विशेष नृत्य छ केलाङ । यो नृत्य उँधौली (चासोक तङ्नाम) र उँभौली (यक्वा तङ्नाम) का अतिरिक्त खुसियाली मनाइने पर्वमा पनि नाचिन्छ । किराँत राईहरूमा साकेलामा कृषि सिली पनि नाचिन्छ तर लिम्बू समुदायको केलाङमा पशुपन्छी र कीटपतंगहरूको चालढालको मात्र सिको गरिन्छ । यसमा कृषि युगका सिलीहरू थपिएको पाइँदैन । यी सप्पै कुराबाट भन्न सकिन्छ— सिकार गरिसकेपछि रमाएर नाच्ने कलाबाट नै साकेला सिली र केलाङहरू सुरु भएको हो ।
दोस्रो हो, साकेला सिली नाच्नेहरूले ढाडमा भिर्ने ठोक्रो र धनुकाँड अनि साकेला नृत्य गर्दा हातहातमा समातिने हरियो सेउली । धनुकाँडको सोझो सम्बन्ध सिकारी जीवनसँग छ । त्यस्तै सम्बन्ध छ सेउलीको पनि । यस्तो सेउली कटुसलगायत प्रजातिका हुन्छन् । साकेला नृत्य गर्दा सिलिमोपा (पुरुष नृत्यकार) र सिलमोमा (महिला नृत्यकार) ले हातमा सेउली लिने प्रचलन छ । यो भनेको जंगली अवस्था र सिकारी जीवनको प्रतिनिधित्व गर्ने संकेतचिह्न हो । जब आदिम पुर्खाहरूले सिकार गर्थे तब त्यसको खुसियालीमा रमाउन उनीहरूसँग उपलब्ध कुरा नै त्यही जंगलका सेउलीहरू थिए । उनीहरू हातमा सेउली लिएर हल्लाउँदै रमाउँथे, नृत्य गर्थे । यस्तो प्रचलन किराँत राईहरूमा केही सय वर्षअघिसम्म जीवित थियो । मैले हालै थाहा पाएको एउटा ताजा मिथककै कुरा गर्छु ।
दीपक राईले अमृतबहादुर राईबाट सुनेअनुसार, बँदेलले भोजपुरको छोङ्खा गाउँको अन्नपात धेरै खाइदियो । नाम्नु पाछा (वंश) का ससुरा सिपालु धामी थिए भने खारुरङ हाङ्खिम पाछा (वंश) का ज्वाइँ धनुकाँड चलाउन सिपालु सिकारी थिए । गाउँलेहरूले अनुरोध गरेपछि ससुरा–ज्वाइँ बँदेल मार्न धनुकाँड लिएर निस्किए । एउटा बँदेललाई देखेर ज्वाइँले वाण हाने तर त्यो बँदेल वाण लागेपछि ढुंगामा परिणत भयो । वाणले लागेर ढुंगामा तीनवटा चोसो बन्यो । ससुराले देख्यो भने लाज हुन्छ भनेर ज्वाइँले त्यो ढुंगा गोगनको रूखमा लुकाए । तर, ससुराले चाहिँ ‘वाण लागेर ढलेको सिकार (बँदेल) यहीँ थियो’ भन्दै धेरैबेर सिली (नृत्य) गर्‍यो । ससुराले धेरै बेर सिली गरेपछि ज्वाइँले भने, ‘मैले यहाँ बँदेललाई वाण हानेको थिएँ । तर, त्यो त ढुंगा पो भयो । लाज हुन्छ भनेर मैले त्यो ढुंगा उठाएर गोगनको रूखमा राखेको छु ।’ त्यो ढुंगा ज्वाइँले बोकेर उनीहरू फर्किए । त्यो ढुंगालाई छोङ्खा गाउँको नागीमा ल्याएर राख्ने उद्देश्य थियो । तर, झन् बोक्यो झन्झन् गह्रौं भएर बिसाउन खोज्दा ढुंगा चिप्लिएर एक्कासि माटोमा गाडियो । जति निकाल्न कोसिस गर्दा पनि नसकेपछि त्यो ढुंगा त्यहीँ रह्यो, जहाँ अहिले साकेला पूजा गर्ने गरिन्छ ।
यो मिथक हजारौं वर्ष पुरानो होइन । त्यस्तै वाणले लागेको बँदेल ढुंगामा परिणत भएको पनि तपसिलकै कुरा हो । तर, मुख्य कुरा यो मिथकले केही सय वर्षअघिसम्म पनि शिकार मारेपछि सिली (नृत्य) गर्ने गरिँदो रहेछ भन्ने संकेत गर्छ । तेस्रो हो, साकेला पर्वमा गरिने पशुपन्छी र कीटपतंग नृत्य । यस्ता आदिम कला र संस्कृतिबारे रुसका प्रथम मार्क्सवादी चिन्तक जर्ज प्लेखानोभले गज्जब सैद्धान्तीकरण गरेका छन् । आफ्नो पुस्तक ‘आर्ट एन्ड सोसल लाइफ’ मा उनले चर्चा गरेअनुसार, खेल अर्थात् नृत्यकला आदि भनेको काम अर्थात् श्रमको नक्कल हो । त्यसैले खेलभन्दा जेठो हो काम । त्यस्तो कुनै पनि खेल (कला) छैन जुन कामसँग सम्बन्धित नभएको होस् । आदिम मानिसहरूको नृत्य भनेको जंगली जनावरहरूको चालढालको पुनरुत्पादन हो । जस्तो कि इस्किमो जातिले सिल माछाको नक्कल दुरुस्तै उतार्छ । उत्तर अमेरिकी इन्डियनहरूले भैंसीको नक्कल गर्दै ‘भैंसी नाच’ नाच्छन् । ठीक त्यसैगरी साकेलामा पनि थुप्रै जंगली पशुपन्छीहरूको चालढालको नक्कल गरिन्छ साकेला सिली (नृत्य) गर्दा ।
साकेलामा सिली गर्दा सयौं प्रकारका नृत्य गरिन्छ । ती मूलभूत रूपमा सिकारी र कृषि जीवनसँग सम्बन्धित छन् । थोरैचाहिँ सभ्यता युगका सिलीहरू पनि रहेका छन् । सिकारी जीवनसँग सम्बन्धित दर्जनौं सिलीमध्ये केही सिलीहरू हुन्— चाप्चा सिली (बाघ नृत्य), ब्यार्पा सिली (भालु नृत्य), पिरा सिली (मृग नृत्य), रुमा सिली
(थार नृत्य), रम्भो सिली (बँदेल नृत्य), रङ्किमी सिली (बाँदर सिली), याङा सिली (माछा नृत्य) इत्यादि । अध्येता कमलजंग राई (साक्खेवा सिली : एक अध्ययन, २०७३) का अनुसार, सिकार सिली पनि हुन्छ, जसलाई आप्तारुङ सिली भनिन्छ । यो सिली धनुकाँड भिरेर नाच्ने गरिन्छ ।
त्यस्तै गरेर थुप्रै पन्छीको नक्कल पनि गरिन्छ साकेला सिलीमा । त्यस्ता केही प्रचलित सिलीमा पर्छन्— तावा सिली (मयूर नृत्य), तातिमी सिली (चारेचरा नृत्य), बङ्कोटे सिली (बेसारा नृत्य), मोउवा सिली (कल्चौंडा नृत्य), वापा सिली (भाले नृत्य), धिवा सिली (डाँफे नृत्य), नार्कुवा/कुङ्केरा सिली (कर्‍याकुरुङ नृत्य), कुप्पु सिली (थिबिउ नृत्य), वाराङकेवा सिली (लाहाचे नृत्य) इत्यादि ।
त्यस्तै साकेला सिलीमा कीटपतंगको नक्कल पनि उतारिन्छ । त्यस्ता सिलीहरूमा पर्छन्— क्रावा सिली (गंगटो नृत्य), लभे सिली (जुका नृत्य), खासिमा सिली (झिँगा नृत्य), बब्लती सिली (पुतली सिली), कुप्पामा सिली (उपियाँ सिली), छिप्क सिली (माछाले खाने कीरा नृत्य) इत्यादि ।
पशुसँग सम्बन्धित सिली भनौं अथवा कीटपतंग र पन्छीसँग सम्बन्धित सिली– यी तीनैथरी सिलीले आदिम किराँती समाजको जंगली र बर्बर युगको सिकारी जीवनको प्रतिनिधित्व गर्छन् । तर, आदिम मानवहरू सिकारमा मात्रै निर्भर चाहिँ कहिल्यै थिएनन् । मानिसको जीवनमा सिकार धेरैपछि मात्र सुरु भएको हो । जंगली युगको उच्च अवस्थामा धनुषवाण आविष्कार गरेपछि मात्र मानव पुर्खाहरूका लागि मासु नियमित भोजन बन्न पुगेको हो (फ्रेडरिक एङ्गेल्स, सन् १९८६, परिवार, निजी सम्पत्ति और राज्य कि उत्पत्ति) । यस हिसाबले हेर्दा साकेला सिली पनि जंगली अवस्थाको उच्चत्तम अवस्थापछि उद्विकास भएको नृत्य–कला हो । मेरो विचारमा यसको पूर्ण विकासचाहिँ बर्बर युगमा भयो ।

साकेला पर्वको प्राग्ऐतिहासिकता देखाउने अर्को पक्ष भनेको कृषि सिली हुन् । र, साकेला शब्दकै अर्को व्याख्या कृषिसँग सम्बन्धित रहेको छ । साकेला शब्दलाई विग्रह गर्दा ‘सा’ ले ‘अन्नको सह’ भन्ने अर्थ दिन्छ भने ‘केल्’ ले संरक्षक भन्ने अर्थ दिन्छ (तारामणि राई, विसं २०७१, साकेल्) । यसरी कोयी राईहरूमा साकेला शब्दको अर्थ कृषिसँग जोडेर गरिन्छ । हुन पनि हो, उँधौलीमा धरती सुत्छ, त्यसैले दुःख दिनु हुँदैन भनेर ढोल–झ्याम्टा बजाइँदैन । साकेला सिली (नृत्य) पनि खासै गरिँदैन । तर, उँभौलीमा चाहिँ खेतीपाती गर्नुपर्ने भएकाले धरतीलाई जगाउन ढोल–झ्याम्टा बजाउँदै साकेला नृत्य गर्ने गरिन्छ । एक हिसाबले धरती जगाउने पर्व पनि हो साकेला । त्यसैले साकेला कृषिसँग सम्बन्धित पर्व हो भन्नेमा कुनै द्विविधा छैन ।
साकेलामा कृषिसँग सम्बन्धित चासिम/चासुम सिली गरिन्छ, जसमा भस्मे फाँड्ने, अन्नबाली लगाउने, उठाउने नृत्य र अन्तिममा खानेसम्मका सिली पर्छन् । लाली ध्येल्मा सिली (बीउ उखेल्ने नृत्य), चप्लइमा सिली (धान–कोदो रोप्ने नृत्य), चासामा सिली (धान–कोदो गोड्ने नृत्य), चाधाम्मा सिली (धान–कोदो झाँट्ने–टिप्ने नृत्य) इत्यादि । कृषिसँग सम्बन्धित सिलीलाई खारु सिली पनि भनिन्छ, जसमा अन्नबाहेक कपास छर्नेदेखि कपडा बुन्नेसम्मका सिलीहरू पर्छन् । बर्बर युगको मध्यअवस्थामा मानव पुर्खाहरूले पशुपालन र खेतीपाती सुरु गरेका थिए (एंगेल्स, ऐजन) । त्यसैले साकेलाको कृषि सिलीचाहिँ सीधैं बर्बर युगको उपज हो । त्यस युगमा सुरु भएको कृषि सिली (नृत्य) हरूको परिष्कार सभ्यको युगमा आउँदा भएको देखिन्छ । विविधताका हिसाबले सबैभन्दा बढी सिली सिकारी युगका छन् । त्यसपछि कृषि युगका छन् । हुँदै नभएका त होइनन् तर सिकारी र कृषि सिलीका तुलनामा आधुनिक युगका सिलीहरू न्यून छन् ।
रमाइलो विषय के भने मानवशास्त्रीहरू खेतीपातीको सुरुआत महिलाबाट भएको मान्छन् । किराँत राईहरूको मुन्दुम, मुन्दुमी मिथक र साकेला सिलीले ठ्याक्कै यही कुरा भनिरहेको छ । मुन्दुमअनुसार, नियामा भन्ने आदिम थलोबाट आएका हुन् किराँती पुर्खाहरू । र, त्यो नियामामा किराँतीहरूले खेती सुरु गरेको सबैभन्दा पुरानो अन्न भनेको सायुङ्मा (सामा) हो जुन ‘मिलेट’ प्रजातिमा पर्छ । त्यसपछि कागुनी हो । त्यो पनि ‘मिलेट’ प्रजातिमै पर्छ । मुन्दुमअनुसार, यी अन्नहरूको खेती आदिम बजु चिनिमाले सुरु गरेकी थिइन् । त्यस्तै खालिङ राईहरूमा बजु खम्निम्याले खेती सुरु गरेको मिथक प्रचलित छ ।
कागुनी अन्नको खेती दस हजार वर्षअघि विश्वमै सबैभन्दा पहिले सिनो–तिब्बतीका पुर्खाहरूले चीनको ह्वाङहो नदीको माथिल्लो र मध्य–उपत्यकामा सुरु गरेका थिए (सु बिङ र अन्य, सन् २०००, ‘वाई क्रोमोजोम हाप्लोटाइप्स् रिभिल प्रिहिस्टोरिक माइग्रेसन टु हिमालय’) भन्ने कुरा पुरातात्त्विक खोजीले प्रमाणित गरिसकेको छ । यससँग किराँती पुर्खाहरू सम्बन्धित हुन सक्ने सम्भावना कागुनीलाई सिनो–तिब्बती भाषामा फ्रो (भान ड्रिम, सन् २००८, ‘टु ह्विच ल्याङ्ग्वेज फ्यामिली डज् चाइनिज बिलङ अर् ह्वाट इज् ए नेम ?’) सँग मिल्दोजुल्दो चाम्लिङ राई भाषामा फेरों, बान्तवा राई भाषामा फेसाक, फेसा भन्नुले देखाउँछ । त्यस्तै सामा र कागुनी अन्न पितृहरूलाई चढाउने पवित्र अन्न मानिनुले पनि यी अन्न खेती गर्नेहरू किराँतीका पुर्खाहरू थिए कि भन्ने सम्भावना औंल्याउँछ । त्यस हिसाबले हेर्दा ‘मिलेट’ प्रजातिका अन्न र खेतीसँग हजारौं वर्षअघि नै किराँती पुर्खाहरू परिचित थिए । र, साकेला सिलीका कृषिनृत्यहरू कुनै न कुनै रूपमा यससँग सम्बन्धित छन् ।
दोस्रो कुरा, साकेला सिली गर्दा पनि पुरुषहरूले सिकारसँग सम्बन्धित नृत्य गर्छन् भने महिलाहरूले कृषिसँग सम्बन्धित नृत्य गर्छन् । यसले पनि कृषिसँग महिलाहरूको सम्बन्ध रहेको देखाउँछ । तेस्रो कुरा, यसपटक भोजपुर जाँदा मैले थाहा पाएँ— बान्तवा राईहरूको पितृकार्य लेवा गर्दा पनि दिवापा (पितृ) र मोङ्छामा (मातृ) को पूजा गरिँदो रहेछ । त्यसमा पनि मोङ्छामा (मातृ) लाई चाहिँ अन्नका बालाहरू चढाइँदो रहेछ । यो पनि कृषिसँग महिलाहरूको सम्बन्ध छ भन्ने सांस्कृतिक तथ्य नै हो ।
सिकारी र कृषि नृत्यका आधारमा भन्दा किराँतीहरूले दुईवटा युग (जंगली र बर्बर) लाई साकेला सिलीका रूपमा भव्य दस्तावेजीकरण गरेका छन् । यस हिसाबले हेर्दा साकेला विशाल सांस्कृतिक भण्डारण (डिपोजिट) हो, जसका आधारमा किराँतीहरूको समाजविकासको अध्ययन गर्न सकिन्छ । उनीहरूको ज्ञान निर्माण र संरक्षण पद्धतिबारे अध्ययन गर्न सकिन्छ । खासमा मौखिक ज्ञानका आधारमा निर्देशित हुने समुदायको दर्शन, इतिहास, आदिम बसाइसराइजस्ता विषयहरूको अध्ययन गर्ने महत्त्वपूर्ण माध्यम साकेला र यस्तै सांस्कृतिक अभ्यासहरू हुन् ।

साकेलाबारे यति चर्चा गरिसकेपछि उँधौली (छिरिनाम) र उँभौली (धिरिनाम) का बारेमा चर्चा नगर्दा अपूरो हुने छ । राईहरूमा मात्रै नभएर सिङ्गै किराँती समाजमा उँधौली र उँभौलीको अवधारणा र अभ्यास रहेको छ ।
किराँतीहरूका अनुसार, जब माछाहरू उँधो लाग्छन्, जब चराहरू उँधो लाग्छन्, विशेषगरी कर्‍याङकुरुङ चरा उँधो लाग्छन् तब समय उँधो लागेछ, हिउँद सुरु भएछ भनेर बुझिन्छ । जब माछाहरू उभो लाग्छन्, जब चराहरू उँभो लाग्छन्, विशेष गरेर कर्‍याङकुरुङ चरा उँभो लाग्छ तब उँभौली सुरु भएछ भनेर बुझिन्छ । उँधौलीमा चिसो हुने भएकाले न्यानोको खोजी गर्दै माछा र चराहरू ओरालो लाग्छन्, उँभौलीमा गर्मी हुने भएकाले चिसोको खोजीमा माछा र चराहरू उँभो लेकतिर लाग्छन् । यसरी किराँत पुर्खाहरूले समयलाई मोटो गरी दुई खण्डमा विभाजन गरेको देखिन्छ । उँधौली र उँभौलीको अवधारणा कृषि जीवनमा प्रवेश गरिसकेपछि किराँती पुर्खाहरूले विकास गरेको कुरा हो । जुलियन स्टेवार्ड र मार्बिन ह्यारिसले विकास गरेको पर्यावरण सिद्धान्तको आँखिझ्यालबाट पर्गेलेर यसलाई अझ विस्तृतमा केलाउन सकिन्छ । त्यो अर्कै पाटो छ ।
तर उँधौली र उँभौली भनेको समयलाई हिउँद र बर्खा भनेर दुई भागमा बाँड्नु मात्र होइन, यो पर्यावरणसँग मात्र सम्बन्धित विषय होइन । यो हो सामाजिक–पारिवारिक नेतृत्वसँग पनि जोडिएको पक्ष । हिउँदलाई किराँत राईहरूमा महिलाको समय मानेर संस्कार गरिन्छ । त्यसकारणले त महिलालाई शीतलता र सिञ्चन गर्ने पानीका रूपमा लिँदै उँधौलीमा छुनेमाङ गरेर पोथी कुखुराको भोग दिइन्छ । त्यस्तै बर्खालाई पुरुषहरूको समय मानेर संस्कार गरिन्छ । त्यसकारणले त पुरुषलाई ताप र आगोको रूपमा लिँदै उँभौलीमा न्वागी गरेर भालको भोग दिइन्छ (नारदमुनि हार्तम्छाली : ‘किराँत सांस्कृतिक सम्पदा सुप्तुलुङ’) । र, यो पनि हो– मातृसत्तात्मक चरणबाट माता र पिताहरूको संयुक्त नेतृत्व भएको युगको प्राग्ऐतिहासिक सांस्कृतिक चिनो । यस आधारमा सांस्कृतिक रूपमै किन नहोस्, लिंगीय समानताको सन्देश पनि हो उँधौली र उँभौली । समाजमा क्रियाशील यस्ता सयौं प्रगतिशील अभ्यासहरूलाई जगेर्ना र प्रवर्द्धन किन नगर्ने ?

Page 19
कोसेली

एउटा खास मान्छे छ

- सरस्वती प्रतीक्षा

नाम : युभल नोहा हरारी
उमेर : ४३ वर्ष
ठेगाना : मेसिलाट जायन, इजरायल
सम्प्रति : हिब्रु युनिभर्सिटी अफ जेरुसेलम
प्रकाशित पुस्तक : सेपियन्स, होमो डेयस, टवाइन्सी लेसन्स फर द ट्वान्टी फस्ट सेन्चुरी

प्रिय हरारी,
संसारको जुनसुकै ठाउँमा बसेर जब कसैले परिचयको दूरदर्शक यन्त्रले तिमीलाई हेर्छ, सुरुमा उसले देख्ने तिमी बस् यति हो । के तिमी भन्नु बस् यति मात्रै हौ त ? यो त तिम्रो परिचयको बोक्रा मात्र न हो । मेरो चासो त बोक्राभित्रको गुदीमा जो छ ।
भनिन्छ, कोही–कोही मान्छेहरू अचम्मका हुन्छन् । मेरो निम्ति तिमी भने ‘अचम्म’ होइनौं, महाअचम्महरूको जम्बो प्याकेज हौ । मैले तिम्रा प्रत्येक अन्तर्वार्ता यसरी सुनेकी छु, जसरी कुनै गीतको पारखीले आफूलाई मन परेको गीत सुन्छ । मैले मेरा दुइटा आँखाले तिम्रा प्रत्येक किताबहरू यसरी पढेकी छु, ती किताब पढिसक्दा संसारलाई हेर्ने तेस्रो आँखा आफैँभित्र उत्पत्ति भएको महसुस गरेकी छु ।
कहिलेकाहीं लाग्छ, तिमी एकदमै खुला किताब हौ । संसारलाई तिमीमा चासो छ । त्यसैले सबैले तिमीलाई पढिरहेका छन्, बुझिरहेका छन्, गमिरहेका छन् । उताका बिल गेट्स, बाराक ओबामा, मार्क जुकरवर्गदेखि यताका बाबुराम भट्टराईलगायत थुप्रै बौद्घिक चिन्तकका प्रिय लेखक हौ तिमी ।
फेरि कहिलेकाहीं लाग्छ, तिमी एकदमै रहस्यमय किताब हौ । बाफ रे, तिम्रो मस्तिष्कका न्युरोन र डेन्ड्राइटहरू कति खतरानाक हुन्, जो अतीतको मात्र होइन, वर्तमान र भविष्यको पनि एक्सरे गरेर देखाइदिन सक्छन् । जतिजति बुझ्यो, उतिउति दुर्बोध्य लाग्ने बन्द किताब हौ तिमी ।
प्रिय हरारी, तिम्रा किताबहरू जुन प्रेमले पढेँ, तिमीलाई त्यही प्रेमले महसुस गरेँ । यो बस् त्यही महसुसनामा हो ।

विपश्यनामा लीन हरारी
आँखा चिम्म गर्दा विभिन्न भावमुद्रामा तिम्रा अनेकन तस्बिर आउँछन् । ती तस्बिरमध्ये सर्वाधिक प्रिय एउटा तस्बिर लाग्छ, त्यो हो विपश्यनामा लीन तिम्रो तस्बिर ।
सत्यनारायण गोयन्का भन्छन्, ‘विपश्यना आत्मनिर्भरता हो । बैसाखीको सहायताबिना पनि स्वयं आफ्नै खुट्टामा उभिन सक्ने तुल्याउने विद्या हो ।’ तिमीले रोज्यौ उनै गोयन्कालाई र रोज्यौ आत्मखोजलाई । भ्रम–भ्रान्तिरहित सम्यक् दर्शनलाई रोज्यौ ।
गोयन्काको ध्यान विधिलाई तिमीले जसरी अपनायौ, तिमीप्रति सम्मोहित हुनुको प्रमुख कारण यो पनि हो । दस मिनेट मोबाइल वा ट्याबबिना कतै एकाग्र हुन नसक्ने साइबर पुस्ताका निम्ति कहिल्यै स्मार्ट फोन नै नबोक्ने तिम्रो आदत आफैँमा अनौठो लाग्छ । त्योभन्दा कैयौं गुणा अनौठो लाग्छ, वर्षको पूरै दुई महिना सारा संसारसँग सम्बन्धविच्छेद गरेर विपश्यनामा लीन हुन सक्ने तिम्रो एकाग्रताको अभ्यास ।
पृथ्वीधातु, आकाशधातु, वायुधातु, जलधातु र अग्निधातु— आफैँभित्रका विभिन्न धातुहरूको स्वभाव, तीक्ष्णता र सूक्ष्मताहरूको अध्ययन गरेर आफूले आफैँलाई नयाँ रूप र स्वरूपमा आविष्कार गर्‍यौ । आफ्नो ऊर्जाको एक बुँद पनि कहींकतै अनावश्यक कुरामा पोखिन वा खस्न दिएनौ ।
धार्मिक हुनु र आध्यात्मिक हुनु नितान्त फरक कुराहरू हुन् । शंकै छैन, तिमी आध्यात्मिक मान्छे हौ । आध्यात्मिक मान्छेले गर्ने मानसिक व्यायामले सचेत भएर ‘स्व’ को निरीक्षण गर्न सिकाउँछ । बोक्रे नैतिकता र आदर्शको पाप्रो उप्काएर यथार्थको धरातलमा नाङ्गै खुट्टा हिँड्न सिकाउँछ । महँगामहँगा जुत्ताहरूको चिह्नमा होइन, नाङ्गा पैतालाहरूको पदचिह्नमा जीवनगीत रोप्न सिकाउँछ । तिमीले आध्यात्मिकतालाई, खासगरी पूर्वीय ध्यानको शक्तिलाई विश्वमाझ अझै परिचित बनायौ ।
हरेक दिन जब तिमी घण्टौँ ध्यान गरिरहेका हुन्छौ, तिमी अझै गहिरिरहेका हुन्छौ । त्यही गहिराइले तिम्रो आँखाहरूलाई संसारलाई हेर्ने नयाँ–नयाँ कोण र अन्दाज दिन्छ । मलाई तिम्रो आँखामा टाँस्सिएका ज्ञानका अनेकन लेन्स मन पर्छन् । प्रिय हरारी, मलाई तिम्रा आँखाहरू एकदमै मन पर्छन् ।

अभूतपूर्व किताब र हरारी
ठ्याक्कै कुन वर्षको कुरा हो, बिर्सें । बिर्सेको वर्षको एउटा बिर्सनै नसकिने साँझको कुरा हो । म त्यतिबेला लेकसाइडमा थिएँ । तालको छेउमा बसेर फेवातालका तरंगहरू चियाइरहेकी थिएँ । सँगसँगै आफैँभित्र छचल्किरहेका तरंगहरू पनि नियालिरहेकी थिएँ ।
त्यति नै बेला मोबाइलमा एउटा परिचित नम्बरबाट फोन आयो र त्यो फोन लेखक कुमार नगरकोटीको थियो । बिनाकुनै अन्य भूमिका उहाँले सरसर्ती आफ्नो कुरा भन्नुभयो, ‘सरस्वतीजी, भर्खरै मैले युभल नोहा हरारीको किताब सेपियन्स पढिसकेँ । यो किताबले मलाई यसरी हल्लाइदियो कि यस्तो मज्जाको किताब कसै न कसैले पढ्नुपर्छ भनेर रिफर गर्नुपर्छ भन्ने लाग्यो । धेरै सोचेपछि मलाई लाग्यो, तपाईं त्यसका लागि उपयुक्त पात्र हुनुहुन्छ । त्यसैले सेपियन्स पढ्नुस् भन्नलाई मात्र फोन गरेको ।’ हरारीको नाम सुनेको तर किताब पढिनसकेको अवस्थामा कुमार नगरकोटीजीको त्यो एउटा छोटो कलले किताबप्रतिको चासो ह्वात्तै बढाइदियो ।
त्यतिबेला मैले ‘नथिया’ माथि काम गरिरहेको हुनाले उहाँले भन्नासाथ त किताब पढ्न सुरु गर्न सकिनँ तर त्यसको केही समयपछि ‘नथिया’ को पाण्डुलिपि प्रकाशकलाई बुझाइसकेपछि भने ‘सेपियन्स’ पढ्न सुरु गरेँ । जब किताब पढ्न सुरु गरेँ, किताबको चुम्बकीय शक्तिले तानिएको तानियै भएँ । इतिहासजस्तो रूखो विषयलाई पनि हदैसम्म स्वादिलो ढंगले पस्कन खप्पिस तिमी । मेरो दृष्टिमा दर्शनको क्षेत्रमा ओशो अन्वेषक कम र कुशल व्याख्याता बढी हुन् । इतिहासको क्षेत्रमा तिमी जति राम्रो अन्वेषक लाग्यौ, त्यति नै राम्रो कुशल व्याख्याता लाग्यौ । तिमीसित व्याख्या गर्ने कला हुन्थेन भने तिम्रा कुराहरू धेरैलाई तर्क होइन, हावा गफ लाग्न सक्थे ।
ब्रह्माण्ड विज्ञानमा स्टिफन हकिन्सको किताब ‘ब्रिफ हिस्ट्री अफ टाइम’ लाई जस्तो अभूतपूर्व किताब मानिन्छ, त्यसैगरी मनुष्यको विकासक्रमका लागि तिम्रो ‘सेपियन्सः अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’ उस्तै अभूतपूर्व किताब मानिन्छ ।
तिमीले आफ्नो किताबमा गर्ने इन्टेलेक्चुलक जिम्न्यास्टिकको कुरा बडो रमाइलो र तर्कसंगत लाग्छ । जंगलमा एउटा मान्छे र चिम्पान्जीलाई सँगसँगै छोडिदिने हो भने मान्छेको भन्दा चिम्पान्जीको परफरमेन्स धेरै गुणा राम्रो हुनेगर्छ । व्यक्तिगत रूपमा एउटा मान्छेले भन्दा एउटा चिम्पान्जीले जे गर्छ, कुशलतापूर्वक गर्छ । जब समूहको कुरा आउँछ, हजारवटा चिम्पान्जीलाई एकै ठाउँमा छोडिदिने हो भने त्यहाँ भद्रगोल सुरु हुन्छ किनकि समूहमा मिलेर कसरी कार्यसम्पादन गर्ने, त्यो चेतना चिम्पान्जीसित हुँदैन । अर्कोतिर एक हजार जना मान्छेबीच भने सहयोगको भावनाले एकआपसमा बाँधिन सक्ने खुबी हुन्छ ।
जानेर, नजानेर जिम्न्यास्टिकमा अब्बल त चिम्पान्जी होला । तर, इन्टेलेक्च्युअल जिम्न्यास्टिक गर्ने स्वभावका कारण मान्छे अन्य प्राणीभन्दा सर्वश्रेष्ठ प्राणी बन्न सफल छ ।
मान्छेलाई सर्वश्रेष्ठ प्राणी बनाउने सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ तिमी मान्छेको कल्पनाशीलतालाई मान्छौ । तिम्रो भनाइअनुसार, संसारका अन्य सबै प्राणी केवल एक यथार्थका साथ बाँच्छन् र त्यो यथार्थ हो वस्तुगत यथार्थ । उनीहरूका लागि आफ्ना आँखाहरूले देखेको र आफैँले प्रत्यक्ष भोगेको भोगाइभन्दा पर अर्को यथार्थ हुँदैन । संसारमा मान्छे मात्र एउटा यस्तो प्राणी हो, जो एकसाथ दुईवटा यथार्थका साथ बाँच्ने गर्छ— एउटा वस्तुगत यथार्थ र अर्को काल्पनिक यथार्थ ।
मान्छे वस्तुगत यथार्थभन्दा काल्पनिक यथार्थलाई माथि राखेर बाँच्न अभिशप्त छ भन्ने तिम्रो तर्क काट्ने ठाउँ देख्दिन । संसारका सबै धर्म र देवी, देवताहरू काल्पनिक यथार्थ हुन् । यही काल्पनिक यथार्थलाई विश्वास गरेर मान्छेले ठूलाठूला धर्मयुद्घहरू गरेका छन्, एकले अर्काको रगत बगाएका छन् । पैसा एउटा कागजको खोस्टो न हो ! कागजको खोस्टोको आफ्नै मूल्य त कति नै हुने हो र ? तर, मान्छेले त्यही पैसा मूल्यवान देख्छ किनकि त्यसमा काल्पनिक मूल्य भरिएको हुन्छ । मिथकहरू काल्पनिक यथार्थ हुन् । तर, मान्छे आफैँले निर्माण गरेका तिनै मिथकहरूसँग डराएर बाँच्छ । अरू त अरू, राष्ट्र भन्नु पनि एक काल्पनिक यथार्थ नै हो । शक्ति भन्नु पनि काल्पनिक यथार्थ नै हो । यही काल्पनिक यथार्थका लागि संसारमा ठूलाठूला युद्घहरू भएका छन् । लाखौंले ज्यान गुमाएका छन् ।
फेरि यही काल्पनिक यथार्थसित बाँच्न सक्ने खुबीकै कारण मान्छे अन्य प्राणीभन्दा भिन्न छ । मान्छे एकसाथ कसरी दुईवटा यथार्थसहित बाँचिरहेको छ ? तिमीले यसको केस्राकेस्रा केलाएर हामीलाई अचम्मित जो पारिदिएका छौ ।
होमो सेपियन्स अर्थात् बुद्घिमान मानव । ६० लाख वर्षपहिले चिम्पान्जी र मान्छेको हजुरआमा एउटै भए पनि करिब २५ लाख वर्षपहिले पूर्वी अफ्रिकाबाट अहिलेको मानव अस्तित्वमा आएको भन्ने तिम्रो तर्क छ । संज्ञात्मक ज्ञानको विकास, कृषि क्रान्ति, भाषा क्रान्ति, वैज्ञानिक क्र्रान्तिसँगै गएको दस हजार वर्षमा मानव जातिले हरक्षेत्रमा तुफानी विकास गर्‍यो । सूचनाको क्षेत्रमा त गएको ३० वर्षले नाटकीय ढंगले छलाङ मार्‍यो । भनिन्छ, ‘न्युयोर्क टाइम्स’ को एउटा विकेन्ड एडिसनमा यति धेरै जानकारी हुन्छ कि सत्रौं शताब्दीमा इंग्ल्यान्डमा बस्ने एउटा आम मान्छेले जीवनभरमा त्यति जानकारी पाउँथेन । जति जानकारी विगत ५००० वर्षमा उत्पत्ति भएको थियो, त्योभन्दा धेरै जानकारी विगत ३० वर्षमा उत्पत्ति भएको छ ।
तिम्रो ‘सेपियन्स’ पनि त तिम्रो खोपडीले रचेको जानकारी र सूचनाहरूको संग्रह हो । तर्क र कल्पनाहरूको भण्डार हो । एकातिर यसमा मानव जातिको इतिहासको काया छ, अर्कोतिर त्यो कायाको अंग–अंगको शल्यक्रिया । प्रिय हरारी, तिमीलाई म के भनूँ– इतिहासविद् भनूँ कि इतिहासको एक कुशल शल्यचिकित्सक भनूँ ?

डाटा धर्म र हरारी
महान् वैज्ञानिक स्टेफन हकिङले आफ्नो मृत्युअघि अक्सफोर्ड युनियनमा आयोजित एक बहस कार्यक्रममा बोल्दै पृथ्वीमा मानव जीवन अबको एक हजार वर्ष मात्रै टिक्ने भविष्यवाणी गरेका थिए । सो कुरा उनको पुस्तक ‘ब्रिफ आन्सर्स टु द बिग क्वेसन्स’ मा पनि पढ्न सकिन्छ , जहाँ उनले हामीले अनुमान गरेभन्दा बिल्कुलै फरक ढंगले कुनै अन्तरिक्ष दुर्घटनामा अचानक् पृथ्वी र समस्त मानव जातिको विनाश हुने उल्लेख गरेका छन् । अर्का महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइन भन्छन्, ‘मलाई थाहा छैन, तेस्रो विश्वयुद्घ कस्ता हतियारले लडिनेछ तर चौथो विश्वयुद्घ भने लठ्ठी र ढुंगाहरूको सहायताले लडिनेछ ।’ यसबाट पनि अबको केही वर्षमा सम्पूर्ण मानव सभ्यताको विनाश हुनेछ भन्ने संकेत मिल्छ ।
हरारी, तिमीलाई लिएर म कहीँकतै सशंकित छु भने तिमीले लिने समयको फ्रेमलाई लिएर छु । तिमी इतिहासको कुरा गर्दा ५०, ६० लाख वर्षअगाडिको कुरा गर्छौ । जब भविष्यको कुरा गर्छौ, एकैपटकमा हजारौं वा लाखौं वर्षको समयलाई समातेर गर्छौ । एक से एक वैज्ञानिकहरूले केही समयपछि धर्तीको अन्त्य हुने भविष्यवाणी गरिरहँदा तिमी भने अहिलेको मानवले आफैँलाई महामानवमा रूपान्तरण गरेर सयौं वर्ष बाँच्ने र धर्तीमा अनेकन करामत देखाउनेमा ढुक्क देखिन्छौ ।
तिम्रो भविष्यवाणी सुन्नमा जति रोचक लाग्छ, भविष्यवाणी सही सावित हुनेछ वा छैन भनेर जाँच गर्न आज तिम्रो समयमा तिम्रो किताब पढिरहेका कोही पनि यो धर्तीमा जीवित रहनेछैनन् ।
आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम विद्वतालाई तिमी बढी नै महत्त्व दिएर कुरा गर्छौ । तिमी पटकपटक भन्छौ— मान्छे शक्तिशाली होइन, महाशक्तिशाली बन्ने ध्याउन्नमा छ । धर्मग्रन्थहरूमा वर्णित सर्वशक्तिमान भगवान्सरह बन्न कृत्रिम विद्वताको आडमा सम्भव हुनेछ । बिस्तारै धर्मलाई नयाँ–नयाँ विचारधाराहरूले विस्थापित गरिरहेको छ । मानवतावाद, पुँजीवाद, उदारतावादको अवधारणा धार्मिक अवधारणाभन्दा बलियो रूपमा देखा पर्‍यो । अब बिस्तारै यी अवधारणाहरूलाई डाटा अवधारणाले प्रतिस्थापन गर्नेछ । भौतिक अर्थव्यवस्थालाई ज्ञानको अर्थव्यवस्थाले विस्थापित गर्नेछ । जोसँग बढीभन्दा बढी डाटा हुनेछ, त्यही शक्तिशाली कहलाउनेछ ।
अमरता र सदावहार यौवनको खोजीमा मान्छेले आफ्नो हरअंगलाई कृत्रिम अंगहरूले विस्थापित गरेर उमेरलाई रोक्नेछ । बायोनिक अर्गान्सका माध्यमले त्यो सब सम्भव हुनेछ । आफ्नो बुद्घिको ठाउँमा कृत्रिम बुद्घिको चिप्स राखेर आफ्नो सोच्ने र डाटा विश्लेषण गर्न सक्ने क्षमतालाई हजारौं गुणा तेज बनाउनेछ । डीएनए मोडिफिकेसनले मान्छेको अहिलेको डिनलाई नै परिवर्तन गरेर भीमकाय सामर्थ्यवान डिनमा बदल्नेछ । मान्छे मान्छेबाट सुपर मान्छे बन्नेछ । त्यतिबेला मान्छेले अपनाउने एउटै धर्म डाटा धर्म हुनेछ । ठीक यहीँनेर स्टेफन हकिङले भविष्यमा मानव जातिले आफ्नै जेनेटिक एडिटिङ गरेर महामानवको अर्को प्रजाति बनाउनेछ भन्ने कुरासित तिम्रो महामानवको अवधारणा ठ्याक्कै मेल खान्छ । मेल नखाने कुराचाहिँ महान् वैज्ञानिकहरूले पृथ्वीकै आयुको सीमा एक हजार वर्ष जति तोकिँरहदा तिमी भने एक हजार वर्षभित्र अहिलेको मानवको अस्तित्व सकिएर महामानवको उदय हुने भन्दै उक्त महामानवको अनन्त आयुको कुरा गरिबस्छौ । आफैँले मर्न चाहँदा मात्र मान्छे मर्नेछ भन्दै ऐच्छिक मृत्युको कुरा गर्छौ ।
उत्तरआधुनिकतावादको कुनै निश्चित रूप हुँदैन । जोन म्याक्गोवानले त उत्तरआधुनिकतावादलाई सजिलै स्थिर र निश्चित गर्न नसकिने चिप्लो पदावली भनेर समेत आलोचना गरेका छन् । समग्रमा भन्नुपर्दा उत्तरआधुनिकतावादको कुनै आकार हुँदैन । हरारी, तिम्रो ‘होमो डेअस’ र ‘ट्वान्टी लेसन्स फर द ट्वान्टी फस्ट सेन्चुरी’ ले पनि उत्तरआधुनिकतावादकै ऐना देखाउँछ । तर, तिमी र अन्य उत्तरआधुनिकतावादीहरूमा फरक के भने तिम्रो उत्तरआधुनिकतावादको एउटा निश्चित रूप छ, एउटा निश्चित आकार छ । तिमी उत्तर र उत्तर–उत्तर भविष्यको कुरा पनि कुनै निश्चित रूप र आकारसहित भविष्यवाणी गरेर गर्छौ ।
कार्ल मार्क्स भन्छन्, ‘आजसम्म दार्शनिकहरूले संसारलाई व्याख्या मात्र गर्ने कोसिस गरे । मुख्य कुरा त यस संसारलाई बदल्नु हो ।’ तिमी इतिहास र वर्तमानको व्याख्या मात्र गर्दैनौ, भविष्यमा समग्र मानव जातिलाई महामानवमा बदल्ने बायोटेक्नोलोजी, जेनेटिक इन्जिनियरिङ, आर्टिफिसियल इन्टेलिजेन्स, अल्गोरिदम र नानो टेक्नोलोजीको कुरा गर्छौ ।
प्रिय हरारी, तिमीलाई एक प्रगतिशील उत्तरआधुनिकतावादी भनेर सम्बोधन गर्दा मेरो देब्रे गालामा कसैले झापड त हान्दैन नि ?

यौनिकता र हरारी
कुनै एउटा अन्तर्वार्तामा अन्तर्वार्ताकारले सोध्छ, ‘के तपाईंको घरमा बच्चाहरू छन् ?’ तिमी जवाफ दिन्छौ, ‘बच्चाहरू छैनन् तर घरमा कुकुरहरू छन् ।’
प्रश्नकर्ताको सामान्य प्रश्नमा तिम्रो असामान्य जवाफ सुनिसकेपछि एक छिन त विस्मयले मेरा कान नै थर्थराएका थिए । बच्चा र कुकुरबीचको सम्बन्धको पहेली बुझ्न नसकेर रन्थनिएकी थिएँ ।
तिम्रो जवाफको पहेली त्यतिबेला बुझेँ मैले, जब मैले थाहा पाएँ, तिमी समलिंगी हौ भनेर । तिमीले सबैभन्दा पछिल्लो किताब आफ्नो श्रीमान् इत्जिक याहवलाई समर्पण गरेर त्यसको थप पुष्टि गरिदियौ ।
युभल नोहा हरारी अर्थात् समलिंगी हरारी । दक्षिणपश्चिम एसियाको एउटा इतिहासकार, प्राध्यापक र दार्शनिकमा आफ्नो यौनिकतालाई लिएर जुन स्पष्टता देखियो, त्यो पनि गणना गर्नलायक घटना लाग्यो । भएको अनुहार छोप्न र नभएको अनुहार देखाएर बाँच्न मन पराउनेको भीडमा आफ्नो सक्कली अनुहार देखाएर बाँच्न तिमीमा जस्तै आँट चाहिन्छ ।
म संसारको सबैभन्दा अग्लो शिखर ‘सगरमाथा’ को देशको मान्छे । तिमी संसारकै सबैभन्दा होचो स्थान ‘डेड सी’ को देशको मान्छे । कहिलेकाहीं सोच्छु— तिमी इजरायलमा नजन्मेर नेपालमा जन्मेको भए तिम्रो मगज यसरी नै गहिरिन र फैलिन सम्भव हुन्थ्यो के ? वा त्यो फगत एक भौगोलिक भूल हुने थियो ?
तिमी जहाँ जन्म्यौ, त्यो देश नै अचम्मको हो । जुन देशमा २० प्रतिशत जमिन मात्र खेतीयोग्य छ र जहाँका ३ प्रतिशत जनता मात्र कृषिमा छन्, त्यो देश खाद्यान्नमा आत्मनिर्भर छ । त्यति मात्र होइन, कतिपय देशमा खाद्यान्न निर्यात गर्न पनि सफल छ । इजरायलले कृषिमा गरेको क्रान्ति सर्वत्र चर्चाको विषय हो । कृषिसँगसँगै टेक्नोलोजीमा पनि उत्तिकै अगाडि छ, इजरायल । पहिलो सेल फोनदेखि पहिलो भ्वाइसमेल टेक्नोलोजी इजरायलमै विकसित भएको हो । कम्प्युटरका लागि पहिलो एन्टिभाइरस सफ्टवेयर पनि इजरायलमै निर्माण
गरिएको हो ।
भनिन्छ, विश्वलाई नै प्रभावित पार्न सक्ने गरी अमेरिकासित राजनीतिक सुपरपावर छ भने इजरायलसित हाइ–टेक सुपरपावर छ । बच्चा तीक्ष्ण दिमागको जन्मियोस् भनेर एउटी आमाले गर्भावस्थामा जटिलभन्दा जटिल गणितका समस्या हल गर्ने र बच्चा १३ वर्षको हुँदा नहुँदै ह्याकिङ गर्न सिकाइने इजरायल वास्तवमै अनौठो देश हो । अमेरिका, रसिया र चाइनापछि कुनै देशसित सबैभन्दा बढी एयर फोर्स छ भने इजरायलसित छ । इजरायलले आफ्नो देशमा नागरिक होइन, सेना तयार गर्छ यसै भनिएको होइन सायद । केही दशकअघिसम्म भोकमरीको समस्या झेलिरहेको एउटा देश अहिले मध्यपूर्वको एक शक्तिशाली देशमा पर्छ ।
प्रिय हरारी, तिम्रो बुद्घिमतामा समेत तिम्रो देशको माटोको गन्ध आउँछ । अझै पनि साउदी अरब, इरान, ब्रुनाईजस्ता देशमा समलिंगी हुनु भनेको भयंकर अपराधी हुनुसरह मानिन्छ । कोही समलिंगी भएको थाहा पाए फाँसीमा झुन्ड्याएर मार्ने वा ढुंगाले हानीहानी मारेकोसम्मका समाचार पढेकै हौं हामीले । अन्य क्षेत्रमा जस्तै यौनिकताको सवालमा समेत इजरायल एक कदम अगाडि देखिन्छ । तिम्रो देशमा सम्पन्न ‘गे प्राइड परेड’ ले नबोलेरै धेरै कुरा बोल्छ । ‘एलजिबिटी’ लाई सम्मानजनक ढंगले स्विकारिएको पाइन्छ ।
कल्पना गर्न न राहदानी चाहिने, न प्रवेशाज्ञा नै । म कल्पनामा क्षणभरमै इजरायल पुग्छु र हेर्छु— तिम्रो भान्साको भेगन व्यञ्जनले समेत ध्यानमुद्रामा तिमीलाई हेरिरहेको । हेर्छु— मदहोस हुँदै तिम्रा पातला ओठहरूले इत्जिक याहवका ओठहरू चुमिरहेको । यहाँनेर संसारका धेरैजसो प्रचलित प्रेमकथाहरू फेल खान्छन् ।
त्यसो त इजरायल एक विवादित राष्ट्र पनि हो । झट्ट हेर्दा इजरायलमा अमेरिकाको प्रभाव रहेको देखिन्छ तर अमेरिकाको तालालाई खोल्ने साँचो इजरायलसित छ भन्नेसमेत सुनिन्छ । यस्तो अस्फुट राजनीतिक गठबन्धनबीच तिम्रा कतिपय विचारले अहिलेको पुँजीवादी विश्वदृष्टिकोणलाई अप्रत्यक्ष, अप्रत्यक्ष सघाइरहेको आरोप पनि लाग्नेगर्छ । अमेरिकामा बसेर अमेरिकाकै कट्टर आलोचना गर्ने नोम चोम्स्कीजस्ता चिन्तकको नजरमा तिमी अमेरिकाको अधिनायकत्व र कर्तुतलाई बडो कुटिलतार्पूक बचाउ गर्ने लेखक हौ । यी सबका बाबजुद तिमीप्रतिको विश्वको आकर्षण थामिनसक्नुकै छ । केही त ‘खास’ छ तिमीमा, जसले गर्दा धेरैले खास ढंगले मन पराइरहेका छन् । मन नपराउने केहीले पनि खास ढंगले नै मन नपराइहेका छन् ।
पुष्पन प्रधानको स्वरमा रहेको ‘एउटा झुर मान्छे छ’ भन्ने गीत कवि संगीतश्रोताले दिमागमा कसलाई सोचेर लेखे कुन्नि ! प्रिय हरारी, तिमीलाई सोच्दा मेरो मनमा बज्ने गीत भने त्यसको ठीक विपरीत खालको छ ।
अर्थात् एउटा खास मान्छे छ...।
Twitter@saraswati_prati

Page 20
कोसेली

बन्दै गरेको एउटा संसार

- घनश्याम खड्का

मांसहार र शाकाहारका बारे त सबलाई थाहै छ, यसबीच उम्रिएको अर्को वर्ग भिगनबारे चाहिँ ? भिगनको भोजन हो के ? किन कोही भिगन हुन्छ ? कति छन् यस्ता मान्छे यो संसारमा अनि हाम्रो देशमा ? के हुन्छ यस्तो खानाले ? यसबारे यहाँ एउटा रिपोर्ट छ– आउनुस्, यही सेरोफेरोमा केही बात मारौं–

भोजनका हिसाबले प्राणीहरू दुईथरी छन्— शाकाहारी र मांसहारी । गाई, हरिण, हात्ती आदि मासु खाँदैनन् । बाघ, चितुवा र बिराला इत्यादि घाँसमा आँखै लगाउँदैनन् । त्यसैले बाघ भन्नासाथै मांसहारी भन्नैपर्दैन, जसरी गाईको नाम लिएपछि शाकाहारी भनिरहनु पर्दैन । तर मान्छे, माछा–मासु पनि खान्छ, दही दूध पनि उसलाई चाहिन्छ, अन्नपात, सागसब्जी र फलफूलले नपुगेर उसलाई अण्डा, घिउ र महसमेत खान्छन् । कोही यसमा छानीछानी यो खाने र ऊ नखाने गर्छन् । यस्तो लाग्छ, मान्छेका लागि खान हुने–नहुने भन्ने नै केही छैन । त्यसैले मान्छेचाहिँ कोही शाकाहारी छ, कोही मांसहारी र कोहीचाहिँ शुद्ध शाकाहारी, माने भिगन ।
पहिले शब्दको बुनोटमा जाऊँ । छाउपडीको अंग्रेजी शब्द छैन किनभने गोराहरूको संस्कारमा छाउगोठ छैन र गोरीहरू रजोवती हुँदा गुफाजस्तो कुनामा गएर लुक्ने कल्पनासम्म पनि गर्दैनन् । त्यसैले अंग्रेजीमा छाउपडीलाई जनाउने शब्द हुने कुरै भएन । त्यस्तै, भिगनिजमको छोटकरी रूप भिगनलाई अंग्रेजी अर्थकै शुद्धतम भाव बुझाउने शब्द नेपालीमा छैन । किनभने, नेपालमा यसको चल्ती छैन । भिगनिजम एक बृहत् अवधारणा बोकेको शब्द हो । शब्दका तहमा उल्था गर्ने हो भने नेपालीमा यसको अर्थ हुन आउँछ— शाकाहारवाद । तर, प्रचलनअनुसार यसलाई बुझ्ने हो भने हाम्रो व्यवहारप्रदत्त शाकाहारवादले पश्चिमाहरूले बाँच्ने भिगनिजमको अर्थ दिँदैन । किनभने, शाकाहारवादले माछा–मासु मात्रै होइन, जीवको शरीरबाट निस्पाद हुने कुनै पनि उत्पादनको प्रयोग गर्दैन । आफ्नो क्षुधा तृप्तिका लागि अरू कसैको ज्यान लिनु वा तिनको दोहन गर्नु उचित होइन भन्ने मूलमर्म भिगनिजमको छ । हालको हिमवत् खण्डमा शाकाहारीहरूले दुग्धजन्य पदार्थ र मह निरापद रूपले प्रयोग गर्छन्, यसमा अण्डा पनि सामेल गर्नेहरू थुप्रै छन् । अझ, कतिपय त माछालाई पनि शाकाहारी भोजन नै मानेर काम चलाइरहेका भेटिन्छन् । त्यसो हुनाले भिगन आहारलाई कवि पराशरहरूले ‘शुद्ध शाकाहार’ को रूपमा बुझाउन खोजे पनि आम मानिस यसलाई दही–दूधसहितको भोजन नै भनी बुझ्छन् । यस्तो बुझाइले भिगनहरू बरोबर अप्ठेरोमा पर्दारहेछन् । विषेशतः पूजाआजा र भोजभतेरमा गएका बखत तिनलाई ‘प्रसाद’ भनेर दिइएको पदार्थले खानु कि ओकल्नु बनाइदिन्छ । यस्ता अक्करे क्षणमा अक्सर भिगनहरू चुपचाप त्यो प्रसाद जिब्रोभित्र हालेजस्तो गर्छन् र आफ्नै आस्थालाई चिमोटेर भए पनि अर्काको हृदयलाई नदुखोस् भन्ने चेष्टा गर्छन् । नेपालीमा भिगनको व्यवहारपरक समानार्थी शब्द भइदिएको भए यस्तो दुविधा रहने थिएन सायद ।
नेपालीमा नभए पनि भिगन आहारको मर्मलाई बुझाउने शब्द संस्कृतमा भने अवश्यै छ– निरामिष । आमिषको मूलार्थ– मासु र यसको लक्षणार्थ हुन्छ अर्थात् मासुबाट बनेका सबै चीज । यहाँसम्म कि हाडछालाको देहप्रति हुने काम–भोगको इच्छालाई पनि यसले अभिव्यक्त गर्छ । निरामिषचाहिँ आमिषको व्यतिरेकी शब्द हो, जसको अर्थ हुन्छ— मासु र मासुबाट निस्पादित सबै द्रव्यहरूले रहित । अर्थको यस आलोकमा हेर्दा निरामिष भोजन भन्दा भिगन आहारलाई सही रूपमा प्रतिनिधित्व गर्छ । तर, अप्ठेरो के छ भने व्यवहारमा अति चल्ती भएकाले जसरी शाकाहारी वा शुद्ध शाकाहारी भोजनले दही–दूध समावेश नभएको आहार भनेर जनस्तरमा अर्थ सम्प्रेषण गर्दैन, त्यसरी नै चल्तीमै नआएका कारण निरामिष भोजनले पनि आम रूपमा भन्न खोजेको कुरोलाई बुझाउँदैन । यसरी, अंग्रेजी संस्कृतिमा भिगन भन्नेबित्तिकै के भन्न खोजिएको हो बुझिएझैं नेपालीमा बुझाउने कुनै शब्द फेला नपर्दा काठमाडौंको शैशव अवस्थाको भिगन समुदाय अलमलमा छ ।



आफ्नो पेट भर्न र जिब्राको स्वाद फेर्न मान्छेले जनावरमाथि गर्नुसम्मको अत्याचार गरेको छ । यस्ता कृत्यबाट केही मानिस अलग भए र माछा–मासु खान अस्वीकार गरे । सामान्यतया हामीले बुझ्दै आएको शाकाहार जीवन पद्धति यही हो । भिगनहरू भने मासु मात्रै होइन, जनावरबाट उत्पादित हरेक सामग्रीको जगमा हिंसा देख्छन् । हुन पनि हो, हामीले मीठो मानेर खाने दुग्धजन्य पदार्थको स्रोत गाई–भैंसीलाई बढी उत्पादनशील बनाउन कृत्रिम हार्मोनको सुई हाल्ने, अनेक औषधि खुवाउने र तिनले दूध दिन छाडेपछि कसैको गर्दन छिनाल्ने र कसैकालाई टाट्नाबाटै लखेट्ने प्रवृत्ति संसारैभर व्याप्त छ । एक दिन काट्नकै लागि अर्बौं प्राणी उद्योगपूर्वक हुर्काइँदै छन् । प्राणीमाथिको यस्तो हिंसालाई मानिसले बहुत जालसाजीपूर्वक आफ्ना सन्तानलाई सानैदेखि झूटो विद्या पढाएर तिनका चित्तमा यस्ता व्यवहार ठीकै हो भन्ने एक अवधारणा अवचेतन तहमै विकास गरिदिएको छ ।
नानीहरूलाई पढाइन्छ— गाईले हामीलाई दूध दिन्छ, खसीले मासु । यो सुन्दा होजस्तो पनि लाग्छ, किनभने हामीलाई पनि यही सिकाइएको थियो र हामी पनि यही सिकाउँदै छौं । तर यो सत्य होइन, गाईले हामीलाई दूध दिँदैन, न खसीले मासु नै । बरु गाईको दूध हामी बलपूर्वक लिन्छौं, जसरी लिन्छौं खसी इत्यादिको मासु तिनको जीवनै अन्त्य गरेर । उदेकलाग्दो के भने, हरेक देशका हरेक भाषामा सानो छँदै बालबालिकालाई जनावरबाट मान्छेले पाएको फाइदाबारे पढाइन्छ । तर, यसो गर्दा जनावरले पाउने सास्ती र हैरानीबारे केही भनिँदैन । नानीहरूलाई मासुबाट जीउ बलियो हुन्छ भनिन्छ । जनावरका छाला र हड्डीबाट बनेका सामग्रीको सौन्दर्यका साथै तिनको अनेक व्यावहारिक उपयोगबारे तिनलाई हजार ढंगले जानकारी गराइन्छ । विवेक पलाउनुअघि नै बालकको अवचेतन मनमा जनावरमाथि गर्ने सबै व्यवहार जायज हो भन्ने पारिन्छ । यसरी मान्छेको एउटा पुस्ताले अर्को पुस्तालाई प्राणीमाथिको दमन सामान्य मात्रै होइन, गुणकारी मानक हो भनेर हस्तान्तरण गर्दै आएको छ ।
इतिहास केलाउँदा थाहा हुन्छ, जति पनि आदर्श मानिस पृथ्वीमा जन्मे, ती सबले प्राणीमाथिको यो हिंसाको विरोध गरे । बुद्धले असंख्य सन्दर्भमा हिंसाविरोधी उपदेश दिएका छन् । मान्छेझैं, हरेक प्राणी कष्टदेखि भाग्छन् र मृत्युदेखि भयभीत हुन्छन् । त्यसैले कसैलाई कुनै पनि रूपमा कष्ट दिने र भयभीत पार्ने काम नगर भन्ने बुद्ध वचन छ । यो तब मात्रै सम्भव छ, जब करुणाको गहिरो प्रादुर्भाव हृदयमा हुन्छ । नत्र त, ‘आई लभ चिकेन’ भनेर मान्छेहरू कुखुराको साप्रा लुछिरहेका भेटिन्छन् अनि ‘आई लभ फिस’ भन्दै छट्पटाइरहेको माछालाई तेलको कराहीमा हाल्छन् । यस्तो प्रेम पनि के प्रेम, जसले जीवनकै अन्त्य गर्छ ? प्रेम त यस्तो होस्, जसको आविर्भावले जीवनको गरिमालाई अरू बढी महिमामण्डित पारोस्, यसलाई अझ बढी रूप र आयामहरूमा प्रकट गर्ने अवकाश देओस् । यस्तो प्रेम पो प्रेम, जसले विवेकको आँखा उघारोस् र मान्छेले जान्न सकोस्— हर प्राणीमा जीवनको उही मधुर धुकधुकी छ आफूमा झैं । त्यसो भयो भने, कसरी एक जीवले अर्को जीवलाई भोजन ठान्न सक्छ ?
प्रेमको नाममा मान्छेले गर्दै आएको वासनाहरूको परिपूरणलाई आफ्नो अभिप्रायमा ढिम्किन नदिन बुद्धले अर्कै शब्दको प्रयोग गर्नुपर्‍यो, करुणा । अहिले पश्चिमा समाजमा तीव्र रफ्तारमा प्रसार भइरहेको भिगनिजम बुद्धको यही करुणामा आधारित छ । प्रणाीहरूमाथिको करुणाकै कारण भिगनहरू वनस्पतीजन्य आहारा मात्रै लिन्छन्, कपडा, धातु र काठका सामान मात्रै प्रयोग गर्छन् । तर, यस्तो जीवनशैली भएकाहरू संख्याको तुलनामा निकै थोरै छन् । ‘फ्रेन्ड्स फर अर्थ’ नामक अमेरिकी संस्थाले केहीअघि गरेको अध्ययनअनुसार, सात अर्ब जनसंख्या भएको यो पृथ्वीमा शाकाहारीको संख्या जम्मा ३५ करोड छ । गुफायुगी आदिम मानिस पूर्ण रूपमा मांशाहारी थियो । सभ्यताको विकास र चेतनाको फैलावटले अहिले उसैका कराडौं सन्ततिले मांस भक्षण गर्दैनन् । यो ३५ करोडभित्र भिगनहरूको संख्याचाहिँ कति होला ? यसको कुनै भरपर्दो सर्वेक्षण हालसम्म भइसकेको छैन तर पनि ‘द इकोनोमिस्ट’ ले के अनुमान गरेको छ भने १५ लाखको हाराहारीमा संसारभर भिगनहरू छन्, जो बितेको पाँच वर्षमा ह्वात्तै बढेको संख्या हो । भिगनहरूको संगठन ‘वर्ल्ड भिगन सोसाइटी’ ले संसारभर करुणापूर्ण जीवनशैलीको प्रचार गर्दै पृथ्वीलाई बचाउन भिगन हुनैपर्ने कारणहरूको तीव्र प्रचार गरेको छ । भिगनिजमबारेमा सन् २०१९ मा संसारभर नै उल्लेख्य खोजबिन भएको गुगलको तथ्यांकका आधारमा ‘द इकोनोमिस्ट’ ले आउने एक दशकमा संसारभर हरेक दस जनामा एक जना भिगन हुने प्रक्षेपण गरेको छ ।
संसारमा यसरी व्यापकताका साथ फैलिएको भिगन जीवनशैली नेपालमा पनि बिस्तारै देखा पर्न थालेको छ, तर मन्द गतिमा । घरबाहिर खानुपरे निरामिष भोजन भेट्न भिगनहरूलाई हम्मे पर्छ किनभने हाम्रा रेस्टुरेन्टहरू भिगनका लागि अपरिचित नै छन् ।
‘लुम्बिनी जाँदा मैले पेटभरि खान पाइनँ’ सामु योञ्जन भिगन हुँदाको दुःख सुनाउँछिन्, ‘बजारमा भिगनका लागि भनेर तोकिएको खाने ठाउँ नै नभएकाले ज्यादै कष्ट भयो ।’
यस्तो देखेपछि सामुलाई लागेछ, आफैं एउटा रेस्टुरेन्ट किन नखोल्नु भिगनहरूका लागि ? उनकी एक चिनियाँ साथीले सामुको यो आँटलाई केही आड भरोसा दिलाइन् र यो खोल्नका लागि आवश्यक प्राविधिक सहयोग पनि गरिन् । अनि खुल्यो बौद्धमा लबिङ हार्ट जो नेपालको पहिलो भिगन रेस्टुरेन्ट हुन गयो । तर, उनले भने जति ग्राहक पाइनन् । दुई वर्ष चलेपछि उनी रेस्टुरेन्ट बन्द गर्ने योजनामा पुगिन् । पेसाले ग्राफिक्स डिजाइनर र भोजनले १८ वर्षदेखिका भिगन तनहुँ मिर्लुङका कृष्ण गुरुङको कानमा लबिङ हार्ट बन्द हुन लागेको खबर कसोकसो गरी पुगेछ । उनले सामुलाई सल्लाह दिए, भएको एउटै भिगन रेस्टुरेन्ट बन्दैचाहिँ नगर्नुस्, बरु ठमेलमा सारौं ।
उनैले सामुका लागि ठाउँ खोजिदिए, आफू पनि यसमा पार्टनर भए । यसरी हाल ठमेलको थकाली किचनछेवैमा खुलेको लबिङ हार्ट नेपाल घुम्न आउने भिगन पर्यटकका लागि त्यति नै प्यारो भएको छ जति प्यारो हज गर्न गएको मुल्लालाई मक्का मदिनाको हुन्छ ।
लबिङ हार्टले पर्यटकलाई मनग्यै खुवाए पनि त्यसले नेपाली भिगनलाई चाहिँ सेवा गर्न पाएको छैन । यो अभावलाई थोरै भए पनि पूर्ति गरिदिएको छ झम्सिखेलमा हालै खुलेको अर्को भिगन रेस्टुरेन्ट सियाले । यसका सञ्चालकद्वय नीरु गुरुङ र सुशील श्रेष्ठ आफैं भिगन जीवन बाँच्ने प्रयत्नमा छन् । प्राणीअंश मुक्त रेस्टुरेन्टले जनावरहमाथिको हिंसा रोक्न थोरै भए पनि सघाउने ठान्छिन् नीरु ।
यसरी भिगनिजमको प्रवर्द्धनमा लागेकी उनलाई निरामिष आहार मात्रै बेच्ने व्यवसायको सुरुआत गर्न सुझाव दिएकी थिइन् आफूभन्दा १८ वर्षले कान्छी टेकुकी २४ वर्षीया काजोल सेटियाले । काजोल आफैंचाहिँ भिगन भएकी हुन्, सन् २०१४ मा सिंगापुरमा इन्जिनियरिङ पढ्न जाँदा, जहाँ उनले जनावरको कुनै पनि स्वरूपको उत्पादन प्रयोग नगर्ने सहपाठीहरू भेटिन् । काजोललाई मन पर्ने दूध, चिज, बटर, दही, आइसक्रिमजस्ता पदार्थ भटमासबाट बनाएर जति पनि उपलब्ध गराएको थियो सिंगापुरको बजारले । जब उनी नेपाल फिरिन्, तब यस्ता पदार्थ बजारमा खोज्दा पनि पाइनन् । तब उनले आफैं सुरु गरिन्, बदाम, काजु र नरिवलका दूध र त्यसबाट बन्ने अन्य परिकार उत्पादन गर्ने काम । यस काममा काजोल कतिसम्म दत्तचित्तले लागेकी छन् भने
आफ्नो इन्जिनियरिङको करिअरलाई नै उनले थाँती राख्नुपरेको छ । आफ्नी आमाको पनि साथ रहेको काजोलको टेकुस्थित आफ्नै घरमा हुर्किरहेको ‘भिगन डेरी नेपाल’ का उत्पादनले अहिले काठमाडौंमा भर्खरै जन्मिएको हजार जना जतिको निरामिष भोजीहरूलाई ठूलो राहत दिएको छ । दूध र अण्डाबिनाको केक बनाउने काम गरेर भिगनहरूलाई थप गुन लगाएका छन्, क्षेत्रपाटीका अर्का युवा अनिश तुलाधरले । आफूझैं अन्य भिगनहरूले केक इत्यादि खान वञ्चित हुनुपरेको देखेपछि अनिशले आफ्नी
पत्नी सरस्वतीसँग मिलेर यसको उत्पादनै सुरु गरे, जसको माग अहिले मांसहारीहरूबाट समेत हुन थालेको छ । किनभने, उनका भिगन केकहरू साह्रै स्वादिला छन् र यसमा हिंसाको कुनै अंश पनि छैन ।
यसरी भिगन समुदाय एकअर्कालाई मद्दत गर्ने र पशु हिंसाविरुद्धका कार्यक्रमहरू आयोजना गर्ने काममा सक्रिय मात्रै छैन— काजोल, कृष्ण, नीरु र अनिशलेझैं यसलाई व्यावसायिकता प्रदान गरेर उत्पादनको नयाँ क्षेत्र पनि विस्तार गर्दै छ । त्यसैमध्येका एक हुन्— धादिङ गोगनपानीका सरगम तामाङ, जसले स्वादको फन्दामा परेकाले मात्रै निरामिष हुन नसकेका ‘गिल्टी मिटेरियन’ का लागि गज्जबको काम गरिरहेका छन्, सेतान अर्थात् ‘मेज मिट’ उत्पादन गरेर । नयाँबजारस्थित एक गुम्बाका व्यवस्थापक सरगमले पहिलोपटक यस्तो जिनिसबारे थाहा पाएका थिए उनकोमा आउने थाइल्यान्डका भिक्षुहरूबाट ।
‘यो हेर्दा मासुजस्तै हुन्छ र खाँदा स्वाद पनि उस्तै आउँछ,’ सरगम भन्छन्, ‘मासु छाड्ने प्रयत्नमा रहेका भिक्षुहरू हामीकहाँ आउँदा त्यस्तै आहारा खोज्थे तर त्यो नेपालमा नपाइने हुनाले थाइल्यान्डदेखि मगाउनुपर्थ्यो ।’
टाढादेखि सामान मगाउनुको झन्झटबाट मुक्त हुन सरगम आफैं थाइल्यान्ड पुगे र सेतान बनाउने विधि सिके । उनका साथी पासाङ तामाङ र अरिस्तो लामाले सरगमलाई काठमाडौंमा यो उत्पादन गर्ने काममा हात अघि बढाए । गुम्बाका लागि भनेर बनाइएको उनको यो उत्पादन नीरुले आफ्नो रेस्टुरेन्टको मेनुमा पनि समावेश गरेकी छन्, जहाँ शाकाहारी मासु खान भनेर मान्छेहरू रमाइलो मानीमानी आउँछन् । अनि सेतान चाखेपछि, हिंसा नगरीकनै स्वादको पूर्ति हुन्छ भने किन मासु खाइराख्ने भन्ने निष्कर्षमा कतिपय ग्राहक पुग्छन्, जो देख्दा नीरुको मन खुसीले झुसी हुन्छ । सरगमहरूले समुद्री झारलाई खाँदखुँद पारेर माछा बनाउने विधि पनि थाइल्यान्डबाट सिकिल्याएका छन् र गुम्बामै त्यसको उत्पादन गरिरहेका छन् । यसलाई पनि नीरुले
आफ्ना ग्राहकका लागि मेनुमा समावेश गरिसकेकी छन् । यसरी मासुदेखि दही–दूध र अण्डा अनि महसम्म वनस्पतिबाटै उपलब्ध गराएर काठमाडौंको नवजात भिगन समुदायले खानपानको प्राणी अंशमुक्त चक्र निर्माण सुरु गरिरहेको छ । भिगन रेस्टुरेन्टहरू देशका सबै सहरमा खोलेको हेर्ने चाहना छ यी निरामिष भोजीहरूको । निरामिष भएपछि स्वास्थ्यमा उल्लेख्य सुधार आएको, मनको विषाद कम भएर गएको र जीवनको आनन्द थप बढेजस्तो लागेको अनुभव भिगनहरूको छ ।
‘मेरो कामबासना हरायो’ पन्ध्र वर्षअघि विकेश श्रेष्ठ भिगन हुँदाको अनुवभ यस्तो छ, ‘शाकाहारी त म पहिलेदेखि थिएँ, ४५ वर्षको भइसक्दा पनि मलाई यौन उत्तेजनाले ज्यादै सताइरहन्थ्यो । तर, जब भिगन भएँ– सारा उत्कण्ठाहरू शान्त भएर गए, मन स्वतः ध्यानमा लाग्यो र स्वास्थ्य राम्रो भयो ।’
त्यस्तै, पन्ध्र वर्षको शाकाहारी जीवन बिताएपछि कवि नरेन्द्र पराशर निरामिष भएको सात वर्ष भयो । भियतनामकी ध्यान गुरु चिंगहाईको उपदेशहरूबाट प्रभावित भएपछि प्राणी अंशबाट जीवनलाई अलग राखेका पराशरको मनमा निरामिष जीवनपद्धतिले पहिलेभन्दा धेरै नै करुणा निस्पाद गरिदिएको छ । छन्दमा केही महाकाव्यहरूकै रचना गरिसकेका उनले भिगनिजमबारे पनि कविता लेखेका छन् । कविताको एक हरफ यस्तो छ,
खानका लागि धर्तीमा, धेरै छन् ती वनस्पति ।
लाजै त्यागेर मान्छेले, खान्छन् प्राणीहरू कति ।।
चाहे मन्दिरमा होस् या, बजारमै नहोस् किन
हुन्न मारिनु यी जन्तु, मान्छेले फाइदा लिन ।।
[email protected]

Page 21
कोसेली

मनोरञ्जन व्यापारी

“रत्नाकर” बाट “वाल्मीकि” बनेका मनोरञ्जन व्यापारीको लेखकीय छलाङ ।
- दिनेश काफ्ले

सन् १९८०/८१, कलकत्ता ! हातहतियारको कारोबार गरेको र शान्ति भंग गरेको आरोपमा दुई वर्षर् जेलको हावा खाएर भर्खरै छुटेका मनोरञ्जन व्यापारी आफ्नो पुरानो काममा फर्केका थिए– रिक्सा चलाउने । यात्रु हुँदा तिनलाई गन्तव्यसम्म पुर्‍याउँथे, अनि नहुँदा यात्रु सिटमा उपरखुट्टी लाएर किताब पढ्थे ।
एक दिन दिउँसोको खाना खाइवरी सधैंझैं किताब पढिरहेका बेला एउटी भद्र महिला उनको रिक्सा चढ्न आइपुगिन् । उनलाई जानु थियो, जादवपुर ।
पढ्दै गरेको किताब व्यापारीले यात्रु सिटमुनि थन्क्याए । यात्रुलाई सिटमा बस्न भने र रिक्सा हुइँक्याए जादवपुरतिर । रिक्साको पाइदान ठेल्दै गर्दा अघि पढ्दै गरेको किताबमा भेटिएको एउटा शब्द सम्झें, जसको अर्थ उनले बुझेका थिएनन् । सोचें– यी भद्र महिला प्राध्यापकजस्ती देखिन्छिन् । यिनलाई पक्कै थाहा होला ।
‘दिदी, जिजीविषाको अर्थ के हो ?,’
उनले सोधे ।
‘जिजीविषा भनेको जीवन जिउने उत्कट इच्छा हो,’ यात्रुले अर्थ्याइन् । ‘तर, तिमीले कहाँ सुन्यौ यो शब्द ?’ आम बोलीचालीमा खासै प्रयोग नहुने शब्दको अर्थ एक रिक्सा चालकले सोध्दा उनी छक्क परेकी थिइन् ।
‘एउटा किताबमा ।’
‘कति पढेका छौ ?’
‘म स्कुल नै गएको छैन ।’
‘त्यसो भए कसरी पढ्न सिक्यौ त ?’
‘आफैँ ।’
‘म एउटा जर्नल छाप्दछु, जसमा तिमीजस्तै कर्मठ मानिसहरू लेख्छन् । के तिमी पनि लेख्छौ ? लेख्यौ भने म छापुँला ।’
व्यापारी एउटा पाठक मात्रै थिए । आफू पनि लेख्न सक्छु भन्ने उनले सोचेकै थिएनन् । ‘मसँग त्यस्तो लेख्नलायक के नै पो होला र खै ?,’ उनी अन्कनाए ।
‘तिम्रो रिक्साचालक जिन्दगीबारे लेख न ! कति कमाउँछौ ? कमाइले खर्च टर्छ कि टर्दैन ? यस्तै यस्तै !’
‘ल म कोसिस गर्छु, सकें भने लेखेर ल्याउँछु । बरु ठेगाना दिनुस् न !’
यात्रुले एउटा चिर्कटोमा आफ्नो नाम–वतन लेखेर दिइन् ।
‘ओहो, तपाईं ?’ चिर्कटोमा लेखिएको नाम देखेर व्यापारीको होस–हवास उड्यो । ती भद्र महिला थिइन्— महाश्वेता देवी । अघि भर्खरै पढ्दै गरेको किताब ‘अग्निर बा’ की लेखिका । त्यही किताबमा त हो उनले ‘जिजीविषा’ शब्द फेला पारेको !
बंगाली साहित्यकी मूर्धन्य लेखिकासँगको त्यो भेट व्यापारीको जीवनको एउटा महत्त्वपूर्ण घटना थियो । त्यही भेटले उनलाई रिक्साचालकबाट लेखक बन्ने यात्रा तय गरिदियो ।
‘बर्तिका’ जर्नलको सन् १९८१ को जनवरी–मार्च अंकमा उनको लेख छापियो, ‘रिक्सा चलाई’, अर्थात् ‘म रिक्सा चलाउँछु’ । लेख छापिएपछि साहित्यानुरागीमाझ हंगामा भयो— को हो यो मनोरञ्जन व्यापारी ? कहाँ भेटिन्छ मनोरञ्जन ?
जादवपुर विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी उनलाई खोज्दै आउन थाले । उनको अन्तर्वार्ता लिए, उनीसँग साहित्य विमर्श गरे । उनको लेखबारे लेख छापे ।
...
सन् २०१८ को मार्च महिनाको एक साँझ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको आर्ट्स एन्ड एस्थेटिक्स विभागको प्रेक्षालयमा मनोरञ्जन व्यापारी त्यहाँका विद्यार्थी र शिक्षकहरूसँग भलाकुसारीका लागि आए । घिउ रङको कुर्था पैजामा र कालो चप्पल लगाएका, काँधमा आगोछा र झोला भिरेका उनी मञ्चमा उक्ले, अनि झोलाबाट एक दर्जन जति किताब निकालेर मञ्चको अघिल्लो छेउमा फिँजाए ।
सामान्यतया दिल्लीका साहित्यिक कार्यक्रममा भेटिने लेखकभन्दा उनको हुलिया र हर्कत भिन्न थियो । कार्यक्रममा जाँदा आफ्ना किताब आफैँ लैजाने र बेच्ने लेखकको जमाना हराइसक्यो । दुई–चार सयप्रति किताब आफैँ छाप्ने अनि सके बेच्ने, नसके साथीभाइलाई बाँड्ने लेखकको दुखियारी छवि बदलिइसकेको छ । आजभोलि एजेन्टले प्रकाशक खोजिदिन्छन्, अनि प्रकाशकले छाप्ने, बेच्ने, साहित्यिक कार्यक्रम या अन्तर्वार्ताका लागि समय मिलाइदिने सबै काम गरिदिन्छन् । चल्तीका लेखकहरू साहित्यिक कार्यक्रममा जाँदा प्रकाशकले किताब बेचुवा टोली छुट्टै पठाउँछन् । लेखकको काम त केबल कार्यक्रममा बोल्ने, गफगाफ गर्ने अनि वाइन पिएर बिदा हुने रहन्छ ।
त्यसैले लेखक मनोरञ्जन व्यापारीले आफ्ना किताब आफैँ ल्याएर फिजाउँदा एकै छिन त लाग्यो— कहाँबाट आए यी पुरानो ढर्राका लेखक ? तर, उनी सचेत रहेछन्— बंगालीमा लेखिएका (अनुवादबाहेक) उनका किताब जहाँकहीँ सजिलै पाइँदैनन्, त्यसैले पाठकको हितकै लागि उनले किताब लगेर बेचिदिनुपर्छ । त्यसैबाट बाटो खर्च निस्के त झन् राम्रो ।
उनी अंग्रेजी नबोल्ने, उनको बंगला सबैले नबुझ्ने । अंग्रेजी बोल्न सक्नेहरूको बोलवाला रहेको उक्त ‘एलिट’ प्रेक्षालयमा बंगाली लवजको हिन्दीमा धमाकेदार प्रस्तुति दिएर त्यस साँझ उनले एक किसिमको क्रमभंग गरे ।
त्यसो त जेएनयू मात्र नभएर पूरा भारतकै साहित्यिक वृत्तमा उनले धमाकेदार प्रवेश गरेका थिए तिनताक । वर्षको सुरुआतमा उनको आत्मकथा ‘इन्टेरोगेटिङ माई चन्डल लाइफ’ शिल्पा मुखर्जीको अंग्रेजी अनुवादमा छापिएको थियो । त्यसै वर्षको जयपुर साहित्य महोत्सवमा उनी भारतीय साहित्यको ‘अन्डरडग’ को रूपमा आए । अमेजन–वेस्टल्यान्ड प्रकाशकले उनका सबै किताब अंग्रेजी अनुवादमा छाप्ने घोषणा गर्‍यो । वर्षको अन्त्यतिर उनको उपन्यास ‘देअर इज गनपाउडर इन द एअर’ अरुणभ सिन्हाको अनुवादमा आयो । लगालग दुई किताब अंग्रेजीमा आएपछि र साहित्य महोत्सवको ‘डार्लिङ’ भएपछि त अघिल्लो वर्षसम्म बंगाली साहित्य वृत्तभित्र मात्र सीमित व्यापारीको परिचयले अग्रगामी छलाङ नै मार्‍यो ।
‘हेर्नुस्, म त अनपढ मानिस परें । कहिल्यै विश्वविद्यालय गएको छैन । तपाईंहरू यति ठूलो विश्वविद्यालयमा पढ्नुहुन्छ, खुब धेरै किताब पढ्नुभएको छ । तपाईंहरूसँग कस्तो प्रश्न छ, जसको उत्तर किताबमा भेट्नुभएन र एक अनपढसँग सोध्न चाहनुहुन्छ ?’ कार्यक्रमको सुरुआतमै व्यापारीले सोधे ।
अनि आफैँले उत्तर दिए, ‘त्यसो त प्राज्ञिक क्षेत्रमा मेरो ज्ञान तथा अनुभव तपार्इँको काम नआउला तर जीवनमा भने पक्कै आउँछ ।’
आमलेखक या बौद्धिकको बारेमा हामीले सामान्यतया बनाउने ‘इमेज’ उनी पहिलो भेटमै भत्काइदिन्छन् । रिक्सा चलाएर र फरक क्षमताका केटाकेटीको विद्यालयका भान्सेका रूपमा बडेमाका डेक्चीमा डाड–पन्यु घुमाएर बनेको उनको पुग–अपुग ७० वर्षे शरीर हृष्टपुष्ट देखिन्छ । लेखक कम, कुस्तीबाज बढी देखिन्छन् । चपाई–चपाई भाषामा बोल्ने स्वभाव छैन । ‘दबंग’ हाउभाउ छ, दमदार छ बोली । हिन्दी शब्द सापटी लिएर भन्नुपर्दा उनको व्यक्तित्वमा ‘कडकपन’ छ ।
कडकपन त उनको जन्मजात लक्षण नै हो । उनी जन्मँदा उनका बुबासँग सुडेनीले एक थोपो मह मागिन् । नवजात शिशुलाई एक थोपो मह चखाइदियो भने उसको जीवनमा सधैंभरि मीठास रहन्छ भन्ने जनविश्वास थियो उनीकहाँतिर । तर, बिहान खाए बेलुका के खाउँला भन्ने चिन्ता गर्नुपर्ने हरितन्नम परिवारले एक थोपो महको जोहो गर्न सकेन ।
‘म जन्मँदा एक थोपो मह पनि चाख्न पाइनँ । त्यसैले मेरो जीवनमा मीठास आएन । मैले आफ्नो जिन्दगी अभागी दलित बाउको अभागी दलित छोरोको रूपमा जिएको छु, तिक्ततापूर्ण जीवन जिउन बाध्य भएर । म चाहन्छु कि मीठा–मीठा कुरा गरूँ, तर मेरो जीवन नै यति तीतो छ कि म चाहेर पनि कसैलाई प्रेम गर्न सक्दिनँ, मीठो बोल्न सक्दिनँ । आखिर साँपको चुम्बन पनि त विषालु हुन्छ । यो मेरो दुर्भाग्य हो,’ उनी भन्छन् ।
त्यो तिक्तता, त्यो कडकपनले नै उनको सीर्जनशील लेखनलाई ऊर्जा दिएको छ ।
...
मनोरञ्जन व्यापारी पूर्वी पाकिस्तान (अहिलेको बंगलादेश) को बरिसाल जिल्लामा सन् १९५० तिर जन्मेका हुन्, एक–दुई वर्ष तलमाथि हुन सक्छ, किनकि ठ्याक्कै मिति र वर्ष उनलाई थाहा भएन । उनको परिवार सन् १९५३ मा भारतको पश्चिम बंगालमा बसाइ सरेको थियो । हरितन्नम परिवारले उनलाई स्कुल पठाउन सकेन, त्यसैले पाखुरा चल्ने भएदेखि नै उनी काम खोज्न घरबाट भागे ।
अधिकांश भगौडा पुग्ने पहिलो मुकाम हो— रेल अड्डा । कलकत्ता रेलवे स्टेसनमा उनी भरिया बने । खुब दुःख पाए । अति भएपछि कसैको पछि लागेर काम खोज्दे आसाम गए । त्यता पनि दुःख पाए, अनि कलकत्तै फर्के । रिक्सा चलाए । दिनभरि रिक्सा चलाउँथे, साँझ परेपछि भट्टी पस्थे, भट्टीबाट निस्केपछि सडकमा मारपिट गर्थे ।
एक गरिब, दलित तथा अशिक्षित व्यक्तिले विद्यमान सामाजिक व्ययस्थाभित्रबाट आफ्नो जीवन माथि उकास्न सक्दैन भन्ने कुरा उनले आफ्नो भोगाइबाट बुझिसकेका थिए । यस्तैमा कसैले उनलाई उक्सायो, ‘यो पाराले जिन्दगी चल्दैन, हिँड् नक्सलबारी । त्यहाँ विद्रोह चलिरहेको छ । खान लाउन दुःख हुँदैन ।’
त्यसरी उनी सन् १९७० को दशकमा चारु मजुम्दार र कानु सन्यालले नक्सलबारीबाट सुरु गरेको नक्सल विद्रोहमा होमिए । राजनीतिक चेतले भन्दा पनि सुरुमा त उनी साथीको लहैलहैमा लागेर होमिएका थिए । अनि चिया पसलमा गिलास माझेर, रेल अड्डामा भारी बोकेर, रिक्सा चलाएर गुजारा गर्न हम्मे–हम्मे भएको अवस्थामा विद्रोहमा लागे राहत मिल्ला भन्ने आशा थियो । अझ भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का कार्यकर्ताले नक्सली भनेर पहिले नै भक्कुमार गोदेपछि नक्सली बन्नुबाहेक अरू उयाय उनीसँग थिएन । विद्रोहको भाष्य त उनले पछि आएर मात्रै सिके, जब उनी किताब पढ्न–लेख्न सक्ने भए ।
आफ्नो पुस्तक ‘इन्टेरोगेटिङ माई चन्डल लाइफ’ मा उनले यस विषयमा थप लेखेका छन् । ‘भारतमा हामीले देखेका करिब २०० वटा साना–ठूला आदिवासी तथा किसान विद्रोहहरू ‘दास कापिटल’ वा ‘रेड बुक’ नपढेका ती आम मानिसले सुरु गरेका हुन् । जीवनको यथार्थले नै उनीहरूलाई विद्रोहमा लाग्न प्रेरित गरेको हो, न कि कुनै सिद्धान्तले ।’
सन् १९७० को दशकमा नक्सल विद्रोहले बंगाल थर्काएको थियो । पढे–लेखेका युवा वर्गरहित समाज निर्माण गर्न विश्वविद्यालय या नोकरी छोडेर विद्रोहमा होमिएका थिए । मजदुर, किसानले गरिबीको बन्धन तोड्न कुटो–कोदालो त्यागेर बन्दुक समाएका थिए । आर्थिक र सामाजिक चेपुवामा परेका मनोरञ्जन पनि लहैलहैमा लागेका थिए । तर, नक्सली हुन सजिलो कहाँ थियो र ? उनको परिवार मोहल्लाबाट निकालिएर घरवारविहीन भयो, बाबु रोगले थलिँदै गए र भाइ ‘नक्सलीको भाइ’ को आरोपमा मारिने डर भयो । नक्सलवादबाट पनि भागेर उनी पुगे दण्डकरण्य, जहाँ पूर्वी पाकिस्तानबाट आएका शरणार्थीलाई राखिँदै थियो । शरणार्थी शिविरमा पनि आखिर सुख कहाँ छ र ? उनको नियति थियो— त्यहाँबाट पनि भाग्नु ।
भागादौडी, लुकाछिपी, गुण्डागर्दीमै बिताइदिए, उनले आफ्नो १९७० को पहिलो दशकको जिन्दगी । सन् १९७५ वा १९७६ मा त प्रहरीले उनलाई पक्राउ नै गर्‍यो दुई वर्ष जेल कोच्यो, कानुनी उपचारबेगर ।
महाश्वेता देवीसँगको भेट असलमा उनको जीवनको दोस्रो महत्त्वपूर्ण घटना थियो । पहिलो घटना त जेलमा भएको थियो । जेलमा व्यापारीको ‘दोस्ती’ थियो एक पढे–लेखेका कैदीसँग । व्यापारी अनपढ भएको थाहा पाएपछि ती कैदीले व्यापारीलाई पढाउने जिम्मेवारी लिए । जेलरलाई भनेर कापीकिताब मिलाइदिए ।
चौबीस वर्षको उमेरमा बल्ल व्यापारीले कखरा सिके ।
‘जेल मेरो विश्वविद्यालय हो,’ उनी भन्छन् ।
जेल जीवन उनका लागि वरदान भैदियो । जेलभित्र लागेको पढाइको प्यास मेट्न यताउता भौंतारिन थाले । रेल्वे स्टेसनका अखबार र पत्रिका आद्योपान्त पढ्थे, अनि जस–जसकहाँ पढ्न पाइन्छ, उसैकहाँ जान्थे । होमियोपेथिक उपचार विधिदेखि एस्ट्रोलोजीसम्म, मार्क्सवादी साहित्यदेखि कोकशास्त्रसम्म । विद्यासागर पुस्तकालयको सदस्यता लिएर ताराशंकर, विभूतिभूषण बन्द्योपाध्याय, माणिक बन्द्योपाध्याय, रवीन्द्रनाथ टैगोर, शरतचन्द्र चटोपाध्याय, महाश्वेता देवी आदिका रचना पढे । बुझे— किताबले त अर्कै संसार देखाउन सक्दो रहेछ ।
पढाइको प्यास मेट्न सजिलो थियो, तर भोको पेट कसरी पाल्ने ? उनी ज्यान पाल्नका लागि फेरि रिक्सा चलाउन थाले ।
तर, पहिलेको रिक्सा चलाई र अबको चलाइमा फरक थियो । पहिले आफ्नो रिक्साको प्यासेन्जर सिटमा उनी तरबार राख्थे । अब त्यहाँ किताब राख्न थाले ।
‘मैले आफूलाई बारम्बार सम्झइरहनुपर्थ्यो कि मभित्रको डाँकु रत्नाकरलाई त्यागेर एउटा यस्तो रत्नाकरमा परिणत गर्नु थियो, जो पछि गएर वाल्मीकि बन्यो,’ उनी भन्छन् ।
चौबीस–पच्चीस वर्षको उमेरमा पढ्न सिकेर तीस–एकतीस वर्षको उमेरमा साहित्यमा पहिलो खुट्किलो टेकेसँगै उनको विद्रोहको स्वरूप पनि बदलियो । उनी पहिले गुण्डा थिए, अब
‘गान्धी’ भए ।
उनी भन्छन्, ‘जेल जानु र लेख्न थाल्नुभन्दा पहिले म सोच्थें, कोही–कोही मानिस यो दुनियाँमा बाँच्नलायक छैनन् । तिनलाई नमार्ने हो भने तिनले अरू हजारौं मानिसको जीवन बर्बाद गरिदिन्छन् । तर, उमेर बढ्दै गएपछि बुझ्दै गएँ, मैले सोचेझैं हुँदो रहेनछ । त्यसैले, जसलाई मार्न चाहन्थें, तिनलाई आख्यानका पात्र बनाएर मारें ।’
पछिल्ला चालीस वर्षमा उनको कलमरूपी हतियारले आठ उपन्यास, चार संस्मरण संग्रह र पचासभन्दा बढी कथामा भित्रका कैयौं खलनायक मारिसकेको छ ।
विगत एकाध दशकमा दलित साहित्यमा चासो बढेको छ । यासिका दत्त, सुजाता गिड्ला आदि अंग्रेजीमा लेख्नेहरू ठूलै धक्का दिँदै मूलधारमा स्थान ओगटिरहेका छन् भने ओमप्रकाश वाल्मीकि, नामदेव धसलजस्ता १९८०–९० का लेखक अंग्रेजी र अन्य भाषामा अनुवादमार्फत फेरि पढिन थालेका छन् । मराठी, हिन्दी, गुजराती दलित साहित्यभन्दा पछाडि परेको बंगाली दलित साहित्य पनि अब बल्ल जुर्मुराउन थालेको छ ।
आफ्नो ठाउँ मागेर होइन खोसेरै लिने हो भन्ने मनोरञ्जन व्यापारी आएपछि यस्तो लाग्दै छ, पहिले मै हुँ भनेर साहित्यको मूल बाटो ओगटेर बस्नेहरू अब ‘रस्ता खाली करो, भाइ आ गया’ भनेर ‘साइड’ लाग्दै छन् ।
जागिरे जीवनबाट निवृत्त भएका उनी अहिले फुर्सदमा छन् । र, नै त झन् भयाई–नभ्याई छ— पत्रिकालाई अन्तर्वार्ता दिन, साहित्य महोत्सवमा बोलिदिन, पुरस्कार थापिदिन । एकताका जादवपुर विश्वविद्यालयको गेटबाहिर रिक्सामा यात्रु कुरिबस्ने उनको साहित्यको समालोचना त्यही विश्वविद्यालयको ‘कम्प्यारटिव लिटरेचर’ विभागको जर्नल (वर्ष ४६, पेज २५–३७) मा हालसालै छापिएको छ । त्यसैले त विद्यार्थीको रूपमा विद्यालय छिर्नै नपाएका उनलाई जीवनको उत्तरार्द्धमा आएर लाग्न थालेको छ— जीवन खेरै गएको चाहिँ होइन, गाँठे !

कोसेली

डहरे दर्शन

- आरके अदीप्त गिरी

मुद्र सतहबाट दुई हजार, दुई सय मिटरको उचाइमा बसेको डहरे देउरालीमा चैत–वैशाखतिर पुग्दा लालीगुराँस फुलेर डाँडै रातो हुन्छ । मानौं प्रकृतिले सारा रूख, बुट्यानमा रातो रङ पोतेको छ । अझ बिहान उदाएको सूर्य रूखका हाँगाहरूमा पर्दा टल्किएको शीत देख्दा यस वन कुनै लोककथामा वर्णित ‘मोहिनी वन’ जस्तो प्रतीत हुन्छ । एनिड ब्लाइटनको बाल–उपन्यास ‘इन्द्रजाली रूख’ पढ्दा दिमागमा आएको कल्पनाको झिल्का यो लालीगुराँस–वनमा पुग्दा यथार्थ बन्छ । मानौं म ब्लाइटनले कल्पना गरेको वनमा साना नानीहरूसँग रमाएर खेलिरहेछु ।
वरिपरिको घना जंगलले त्यहाँ पुग्ने हरेकलाई विशेष किसिमको सम्मोहनमा लठ्याउँछ । लामो यात्रापछि लालीगुराँसको रूखबाट खसेका गुराँसका रंगीविरंगी थुंगाले घेरिएर रूखकै फेदमा सुस्ताउनु, गुराँसका पत्रैपत्र कुल्चदै हिँड्नु वास्तवमै अलौकिक आनन्दमा रम्नुजस्तै हो । यस्तो आनन्द पर्वत जिल्लाको डहरे देउरालीमा पुग्ने यात्रुले सँगाल्ने आनन्द हो ।
गुराँसको यस लेकबाट उत्तरतिर फर्केर हेर्दा अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे, नीलगिरिजस्ता सुन्दर हिमालय पर्वत आँखैअगाडि उभिइरहेका देखिन्छन् । सिताराझैँ टल्किरहेका हिमशिखरका यी दृश्य हेर्दा लाग्छ, जीवनको सर्वाधिक रोमाञ्चकारी क्षण यही हो । त्यस्तै पूर्वबाट हेर्दा पोखरा, स्याङ्जातिरका गाउँका घरहरू तल–तल देखिन्छन् । पश्चिम फर्केर हेर्दा उस्तै बागलुङ र गुल्मी जिल्लाका सुन्दर हरिया पहाडी शृंखलाका अनेक आयाम देख्न सकिन्छ । जिल्लाकै उचाइमा रहेको डहरेबाट यी वरिपरिका गाउँ तलतिर हेर्दा आफू संसारकै सबैभन्दा उचाइमा भएजस्तै लाग्छ ।



स्कन्द पुराणमा उल्लेख भएअनुसार, यस पर्वत परापूर्वकालमा महान् ऋषिमुनिहरूले तपस्या, ध्यान र योग गर्ने थलो थियो । यस पर्वतलाई ‘नीलकण्ठ पर्वत’ को नामले पनि पुकारिन्छ । यस विशाल पहाड पर्वत जिल्लाको कार्कीनेटा, थापाठाना र भंगारा तथा स्याङ्जा जिल्लाको आरुचौर र पञ्चमूल गाउँको सीमावर्ती क्षेत्रमा पर्छ ।
भानुभक्तको वाल्मीकि रामायणको अशमेद काण्डमा पनि यस पर्वतबारे निकै सुन्दर ढंगबाट व्याख्या गरिएको छ । यस लेक र देउरालीलाई धार्मिक रूपमा पनि निकै मान्यता दिइएको यस दृष्टान्तबाट पुष्टि हुन्छ । यो नीलकण्ठ पर्वतबाट कसरी डहरे देउराली बन्यो ? यसको कथा रोचक छ, योगी नरहरिनाथले लेखेका छन्, ‘यस पहाडमा एक समय डहरा ऋषिले तपस्या गरेका हुनाले यस पहाडको नाम डहरे देउराली बन्न पुग्यो ।’ यस्ता किंवदन्ती अनेक तरहले बनेका हुन्छन् । यसको सत्यता कति छ त्यो खोजको पाटो हुन सक्ला । जे होस्, डहरे देउरालीलाई धार्मिक पुस्तकले अति महत्त्वका साथ लेखेका छन् ।
यस पर्वतमा करिब २ हजार मिटर लामो डहर भएकाले यसको नाम ‘डहरे देउराली’ भएको हुन सक्ने पनि मान्छेहरूको अड्कल छ । यही पहाडमा आवाल ब्रह्माचारी खडानन्द अधिकारीले ३७ वर्षसम्म कठोर तपस्या गरेका थिए । पौराणिक मान्यताअुनसार, निःसन्तान दम्पतीले यस स्थानको दर्शन गरेर बर मागेमा सन्तान प्राप्त हुने साथै मनको मानोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ । यस स्थानमा मानिसहरू विवाह, व्रतबन्धजस्ता विशेष शुभकार्य पनि गर्छन् । विशेषतः वाला चतुर्दशी, चैतेदसैँ, महाशिवरात्रि, गुरुपूर्णिमा, बडादसैंजस्ता विशेष पर्वहरूमा यहाँ धुमधामको पूजाअर्चना गरिन्छ ।



अहिलेसम्म डहरे देउराली क्षेत्र संरक्षणका लागि जिल्लाका कार्कीनेटा, थापाठाना, भंगारा र स्याङ्जाको पञ्चमूल वरपरका गाउँले केही पहल गरिरहेका छन् । सँगै यस स्थल संरक्षणका लागि विधिवत् रूपमा समिति नै गठन गरिए पनि त्यसबाट कुनै फलदायी कामचाहिँ भएको देखिँदैन ।
डहरे पुग्न जंगल छिचोल्दै हिँड्नुपर्छ । करिब ६० किमि लम्बाइ र १५ किमि चौडाइ क्षेत्रफल रहेको लेकलाई पतझर प्रकारको घनाजंगलले घेरेको छ । सदियौं पुरानाजस्ता लाग्ने लहरा र झ्याउले जेलिएका रूख बुट्यानका आकृतियुक्त वनक्षेत्र देख्दा कुनै विशेष जिलायु सौन्दर्यको आभास मिल्छ । मानिसको पातलो आउजाउ र उपस्थिति रहने जंगलको गोरटो बाटो प्रायः रूख बुट्यान र झाडीले छोपेको देखिन्छ । सुरुमा बाटो छिचोल्न नसक्दा मानिस जंगलमा हराउने सम्भावना पनि हुन्छ ।
लेकको चुचुराबाट वरिपरिको प्रकृति नियाल्दा मन चकित बन्छ । कल्पना गरेको परिवेशभन्दा नितान्त फरक महसुुस गर्न सकिन्छ डहरे चुली टेक्दा । मन एकाएक आकाशको फेरो मार्न पुग्छ प्रकृतिको बुई चढी । यो वनक्षेत्र जैविक विविधतायुक्त छ । यहाँ दुर्लभ जातका वनस्पति पनि प्रशस्तै पाइन्छन् ।



डहरे देउरालीका विविध पक्षबारे यहाँ चर्चा गरियो । यस क्षेत्र भोट र तराई क्षेत्र जोड्ने पुरानो नाका पनि हो । पुर्खाहरू यही बाटो भएर कार्कीनेटा हुँदै भोट प्रस्थान गर्थे व्यापारका लागि । घरायसी बन्दोबस्तीका सामान निर्यातका साथै विशेषतः नुन ओसारपसारका लागि यो ठाउँ महत्त्वपूर्ण नाका बनेको थियो । त्योबेला घोडा, खच्चडलाई भारी बोकाएर पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसम्म ढुवानी गर्ने गरिन्थ्यो । हाल सडक पहुँचले पुरानो त्यो समस्या टरेर गएको छ । र, अहिले यो स्थान पर्यटकीय गन्तव्य बन्दै छ ।
डहरे पुग्न पोखराबाट पर्वतको कार्कीनेटा हुँदै करिब ३ घण्टाको उकालो उक्लनुपर्ने हुन्छ । स्याङ्जाको सिरुबारीबाट पनि ४ घण्टाको हिँडाइपछि डहरे पुगिन्छ । केही वर्षयता नौडाडा–कार्कीनेटा–लुंखु मोटर बाटो पुगेपछि यहाँ पुग्न केही सहज भएको छ ।
[email protected]/fb.com

Page 22
कोसेली

भैया अंकल !

सुनील भैया भारतीय नागरिक हुन् । सिसा, किताब, फलाम बटुल्दै हिँड्ने– गर्मीमा बरफ बेच्दै हिँड्ने व्यापारी, जसलाई हामी सम्मानले होइन, अपमानले पुकार्छौं— भैया... !
- घनश्याम खड्का

हिँडेको प्रत्येक अप्ठ्यारा बाटामा
भेटिन्छन् अलग अलग कहानी
कुनै कनै कहिल्यै मेटिँदैनन् यादबाट
बरु स्मृतिका पत्रमा भित्रभित्रै घुस्छन्
र, ताजा हुने बहाना खोज्छन् ।
फोनको स्क्रिनमा उनको नाम पिलिकपिलक आइरहेको थियो । उठाएँ । औपचारिताबिनै सोधिहालिन्, ‘दिदी तपाईं धरान आउनुभएको ?’ एक्कासि आएको प्रश्नले आश्चर्य तुल्यायो । तर, उत्तरमात्रै दिएँ, ‘होइन । दाङमै छु ।’
फेसबुकमा मैले राखेको पुरानो फोटो देखेर ‘म धरान छु’ सोचिछन् । भनिन्, ‘छिमेकी ‘भैया’ ले पनि सम्झेको छ रे है दिदी तपाईंलाई !’ उनी अर्थात् धरान बसाइको छिमेकी नम्बर एक, भैया अर्थात् छिमेकी नम्बर दुई ।

पहिलोपटक धरान टेकेको बिहान उनीसँग चिनजान भएको थियो । भेटमै हामीले दिदी–बहिनीको साइनो लगायौं । उनी बनिन्, छिमेकी नम्बर एक । त्यही साँझ भेट भएको थियो सुनील साहसँग (उमेरले मभन्दा बढी भएकाले उनलाई पछिसम्म पनि म अंकल भनेरै बोलाउँथें ।)
मलाई सानैदेखि ग्यास र बिजुलीसँग खुब डर लाग्छ । अप्ठेरो कामबाहेक ग्यास–बिजुलीको नजिक पनि जानु नपरे हुन्थ्यो भन्ने लाग्छ । तर, एक्लै बसेपछि घरमा घुर्की लगाएजस्तो कहाँ हुँदो रहेछ र ? साँझमा अफिसबाट फर्किएर डेरामा ग्यासको पाइप जोड्दै थिएँ । मरिगए आए पो ! नचिनेको सहरमा कोसँग सहयोग माग्न जानु ? बिहान साइनो गाँसिएकी बैनी पनि अफिसबाट कोठा फर्किएकी थिइनन् ।
ग्यास जोड्दाजोड्दै आइपुगेका थिए, सुनील अंकल । उनैले ग्यास हेरिदिए । समस्या पाइपमा होइन, चुल्होमै रहेछ । हामी दुवै जना लाग्दा पनि मर्मत गर्न सकेनौं । बाहिर गाढा अँध्यारो थियो । त्यो दिन उनैले प्रस्ताव गरे, ‘आज मेरैमा खाऔं । म पकाउँछु ।’
धरानको बसाइको सुरुआती दिन । त्यसमाथि नयाँ चुल्होले नै धोका दिनु ! अपरिचितको भान्सामा खान खान जानु ! अहो, मेरा लागि त्यो सबैभन्दा बढी गाह्रो समय थियो । सायद उनको अनुहार कुनै गोरो नेपाली मूलको भइदिएको भए सहजै भनिदिन्थें, ‘हुन्छ किन नहुनु नि !’ तर, मभित्रको कुरूप मानसिकताले मनलाई दुविधामा पारिरहेको थियो । अर्थात् जाऊँ कि नजाऊँ ! जे होस् त्यो दिन सुनील अंकलको मसालेदार खाना खाएँ । त्यो नितान्त बेग्लै अनुभव थियो ।
सुनील भैया भारतीय नागरिक हुन् । सिसा, किताब, फलाम बटुल्दै हिँड्ने र गर्मीमा बरफ बेच्दै हिँड्ने व्यापारी, जसलाई हामी सम्मानले होइन, अपमानले पुकार्छौं— भैया... ! व्यवहार पनि कुनै अपराधीलाई झैं गर्छौं । तर, मैले सुरुमै ‘भैया’ भनिनँ, ‘अंकल’ भनें ।

छोटो दिन । छिट्टै रात पर्ने जाडोको दिन थिए ती । मैले राति ८ बजेसम्म अफिसमै काम गर्नुपर्थ्यो । जब रातमा कोठा फर्किन्थें, ती सुनील अंकल मायालु भावले भन्थें, ‘छोरी बाहार धेर नबस । ठन्डा बहुतै छ । बिमार पर्ला ।’ त्यस्तोबेला मलाई आमाबुबाको याद आउँथ्यो । भैया अंकल मलाई सहरको मेरो अभिभावकजस्तै लागे ।
माघे संक्रान्ति पश्चिमेली मगरको ठूलो पर्व हो । संक्रान्ति मनाएर बसमा लगातार लामो यात्रापछि दाङबाट धरान फर्किएँ । बसको थकान र रातको चिसोले बिरामी परें । सहरमा एक्लो हुनु र बिरामी पर्नु झनै डरलाग्दो हुँदो रहेछ । कसैले ‘कस्तो छ ?’ भनेर सोधिदिए पनि आधा ज्वरो घट्छ कि भन्ने लाग्ने ।
अफिसमा राम्ररी काम गर्न सकिनँ । छिट्टै डेरा फर्किएँ र घुप्लुक्क सुतें । कोठा शान्त भएको चाल पाएर होला एक छिनपछि बैनी र अंकल आए । सञ्चो नभएको सुनाएपछि उनीहरू बाहिर गए । ‘ल खाना खाऊ,’ आधा घण्टापछि सुनील अंकलको हातमा खाना थियो । उनले भने, ‘खाऊ छोरी । यो सहरमा हम्रा अपना कौन छ र ?’
भैया अंकलको मायाले मलाई फेरि ‘अपना’ हरू सम्झन बाध्य बनायो । हामी त आफ्नाकै बीच झन् पराई बाँच्दा रहेछौं । नजिक भएर पनि कति टाढा... । भैयाले भनेको सत्य पनि हो– कत्ति आफ्नासँग एक अंगालो माया बाँड्न सकिँदैन, एक आँखा आँसु बाँड्न सकिँदैन, एक घाउ चोटको पीडा बाँड्न सकिँदैन । म बिरामी पर्नु सामान्य कुरा थियो । तर, भैयाले कति असामान्य अभिव्यक्ति भने मेरो मान्यता नै हलचल भइदियो ।
धरान बसाइ क्रममा भैयासँग एक प्रकारको पारिवारिक लगावजस्तै भयो । तल्लो तलामा बस्ने राईनी बैनी, म र भैया सधैं मिलेर खाना बनाउँथ्यौं, बाँडेर खान्थ्यौं, सँगै लामो गफ गर्थ्यौं । भैयाको साँझको निश्चित खान्की थियो— रोटी र मासु । तर, उनले मासु कहिल्यै पनि आफ्ना लागि मात्रै ल्याएनन् । भैया पिठो मुछ्दै गर्दा म कफी तयार पार्थें । त्यसपछि हामी सुन्थ्यौं— उनका जीवनका उत्तरचढाव । प्रायः उनी आफ्नै कुरा बढी गर्थे ।
५९ वर्षको अन्तिम ढिकमा उभिएका थिए उनी । उनलाई राम्ररी थाहा थियो— उनी अर्कै देशका नागरिक हुन्, बैनी र म अर्कै देशका नागरिक हौं ! उनलाई यो पनि थाहा थियो— धरानबाट आफ्ना घर पुग्न एक घण्टाको बस यात्रा र त्यसपछिको एक घण्टा रेल यात्रा काफी हुन्छ । तर, उनी भन्थे, ‘देशले भावनामा फरक पार्दैन । यो त व्यक्तिको सोचको कुरा हो ।’
भैया थिए— नेपालको कबाडी उठाउने कबाडीवाल । यही कमाइले उनले भारतको एउटा प्रतिष्ठित कलेजमा छोरालाई इन्जिनियरिङ पढाइरहेका थिए । ‘कामले भन्दा पनि परिश्रमले मान्छेलाई ठूलो बनाउँछ,’ यो उनको दर्शन थियो । मलाई ती भैयाको अनुहारमा तमाम बाबाहरूको अनुहार याद आउँछ— परदेशमा पसिना चुहाएर आफ्ना सन्तानलाई जीवनजस्तो जीवन बाँच्न दिने बाबाहरूको अनुहार ।
‘मेरो बेटालाई नयाँ जकेट खरिदकर दिया छु । और उसके पुरानावाला मैं ल्याया । चेन बिग्रिएछ, बनाइदेऊ त छोरी,’ घरबाट फर्किएपछि एक साँझ उनी मेरो काठामा आए । उनको हातमा एउटा पुरानो ज्याकेट थियो तर ब्रान्डेड ।
हाम्रो कोठा नजिक–नजिक भएकाले कुराकानी भइरहन्थ्यो । ‘बिहे कसरी गर्नुभएको ? मागेर कि मन पराएर ?’ एक दिन कुरैकुरामा सोधेकी थिएँ । उनको मागी विवाह भएको रहेछ । अर्थात्, ‘घरवाले ने पसन्द की हमने भी एक दुसरेको पसन्द की और सादी हो गई ।’
‘अनि झगडा कत्तिका पर्छ ?’ म अर्को प्रश्न गर्छु ।
‘किसिलिए झगड कर्ने ? लोग दो वजह से झगडा कर्ते हैं । या तो पैसा के वजसे या बेवफाह के बजसे । बिबीका खुदका दुकान हैं । वो खुद कमाती हैं । और मैं खुद कमाता हुँ । हमने कवि एक दुस्रेका साथ बेवफा नहीं कि तो झगड कर्दैन हामी,’ उनको यस्तो भनाइ सुनिरहँदा भैया साह्रै बुज्जकी मानिस हुन् भन्ने भाव मनमा आउँथ्यो ।
नेपाल–भारतबीच अहिले सीमा विवाद भैरहेको यसबेला म सम्झिरहको छु, ती भैया अंकल अर्थात् सुनील साहलाई ।
उनलाई चिनेपछि लागेको छ— धर्ती बाँडिएको सिमानाबारे केही थाहा नपाउनु कति ठूलो प्राप्ति रहेछ ! ‘सामुन्नेवाला कहाँबाट आयो ? कुन देश र कुन जातको हो ?’ अनभिज्ञ रहनुले कसरी आत्मयीता जागृत हुँदो रहेछ ! मान्छेले बनाएको यो मान्यताभन्दा पर पनि त कैयौं जिन्दगी रहेछ, जसलाई आफ्नो नागरिकतामा लेखिएको देश र आफ्नै नाम पनि थाहा हुँदैन । उनीहरू देश चिन्दैनन् तर माटो चिन्छन् । उनीहरू पसिना र परिश्रम चिन्छन्, तर लालपुर्जा र सम्पत्ति चिन्दैनन् । उनीहरू दिनैभर मिहिनेत गर्छन् । साँझ आरामले खाना खान्छन् र मस्त निदाउँछन् । हो, उनीहरूलाई फरक पदैन रहेछ भूगोल र सिमानाले । परिचय व्यवहारले पनि दिन सकिन्छ भन्ने दर्शन ती भैया अंकलले सिकाए ।
भैया अंकलको आफ्नै सिद्धान्त छ । आफ्नै दर्शन छ । कुनै विलासिताको चाहना छैन । कुनै द्वेषभाव छैन । हामीले हेपिरहेको ती कैयौं भारतीय मूलका ‘भैया’ हामीभन्दा पनि उच्च सोचका छन्, उनलाई भेटेपछि यो कुरा थाहा पाएँ । ती भैया अंकलको जीवन दर्शन सामान्य थिएन । त्यो थियो, मिहिनेत र परिश्रमको अक्करे भीरमा फुलेको कुनै सुन्दर जीवनको फूल ।

कोसेली

मनमै छन्– तीन/चार उपन्यास

- कान्तिपुर संवाददाता

आत्मवृत्तान्त प्रकाशन भएको एक वर्षपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको दोस्रो पुस्तक बजारमा आएको छ । पुस्तकले उनको नामअघि नयाँ विशेषण थपिदिएको छ– उपन्यासकार । पहिलो उपन्यास ‘कारा’ बजारमा आउने संघारमा वार्ता गर्न पुग्दा उनी आफ्नो उपन्यास होइन, प्याजबारे गफिइरहेकी थिइन्, ‘बजारमा किताबभन्दा प्याजको भाउ चर्को छ ।’ अवकाशपछि कि गुमनाम भएर घरमै बस्ने कि नियुक्ति खोज्दै सत्ताको दैलो चहार्ने पूर्वकर्मचारीको भीडमा उनी पर्दिनन्, बरु निरन्तर लेखनमा व्यस्त छिन् । ‘कारा’ विमोचनको छेको पारेर उनीसँग पुस्तक, लेखनबारे जनकराज सापकोटाले गरेको संवाद :

नामअघि नयाँ विशेषण पनि थपिने भयो– उपन्यासकार एवं पूर्वप्रधानन्यायधीश । यसरी बोलाउँदा कस्तो सुनिने रैछ ?
हाँस्दै... । त्यस्तो खास केही महसुस भएको छैन । २०३२/३३ सालतिर पनि लेख्ने काम गर्थें, कथा–कविता लेख्थेँ । केही कथा त्यतिबेलै छापिए । लेखिएका कति कविता हराए । एक समय पत्रकार पनि भएँ । पछि वकालततिर लागेपछि साहित्य कतै छुटेजस्तो लाग्यो । मलाई थाहा थियो, साहित्यमा लाग्ने हो भने त राम्रैसँग लाग्नुपर्छ । मनमा ‘साहित्य लेख्ने’ भन्ने थियो । तर, म अर्को बाटो हिँडें ।
साहित्यसँगको संगत कसरी सुरु भयो ?
एसएलसीको जाँचपछि खुबै पढें, रसियन र भारतीय उपन्यास । बुबा पनि बडो चाख मानेर पढ्नुहुन्थ्यो, भारतीय उपन्यासहरू । एकाध दिनको अन्तरमा बुबा एउटा उपन्यास पढिसक्नुहुन्थ्यो । साथीभाइसँग मागेर, आफैँले किनेर र कतैबाट जम्मा गरिएका उपन्यासको खात थियो घरमा । तर, बुबा कोर्सको किताब पढ्न जोड गर्नुहुन्थ्यो । म भने बुबाको आँखा छलेर उपन्यास पढ्थें, लुकी–लुकी ।
इन्टरमिडियटको परीक्षापछि पनि उपन्यासहरू पढेँ । त्यो ताक जे भेट्यो, त्यही पढ्थेँ । त्यतिबेलै म साहित्यसँग नजिकिएँ ।
उपन्यास लेख्ने विचार कसरी आयो त ?
वर्षौंदेखि मनमा केही कथा बोकेर हिँडिरहेको थिएँ । २०४६ सालको आन्दोलनताका फागुनको दोस्रो सातातिर म विराटनगरबाट पक्राउ परेँ । केही दिन थाना बसेँ । पछि जेल सारियो । जेलमा पढ्न पाइँदैनथ्यो, कैदीहरूका कथा सुन्न पाइन्थ्यो । तिनको जीवनबारे अनेकन कल्पना गर्थें । त्यसबेला ३० जना जति कैदी महिलाको जीवनको अन्तरकुन्तर लेखेर राखेको थिएँ ।
वकालतमा लागेपछि ती कथा पुनर्लेखन गर्ने समय पाइनँ । अहिले ती महिलाको कथा सुनेपछि प्रकाशकले छाप्न रुचि देखाए । पुरानो कथाको खेस्रालाई पुनर्लेखन गरेँ । गतिलो सम्पादक पनि पाएँ । झन्डै तीन दशक पुरानो कथाको पुनर्लेखनपछि किताब तयार भयो ।
पुरानो स्मृति ब्युँताएर पुनर्लेखन गर्न कति जटिल भयो ?
बरु दाल–भात–तरकारी पकाउन मलाई गाह्रो लाग्छ । तर, लेख्न गाह्रो लाग्दैन । पुरानो टिपोट, वकालती गर्दाका अनुभव मिसाएर उपन्यास तयार पारेँ । यस्तै तीन/चारवटा उपन्यासको कल्पना मनमै छ । तिनलाई पनि लेख्ने विचारमा छु ।
वर्षौंसम्म कानुनको भाषा लेख्नुभयो । कानुनको भाषा ठाडो, रूखो र जेलिएको हुने भएर कतिपयले कानुनका नौ सिङ पनि भन्छन् । त्यसलाई एकातिर पन्छाएर साहित्य लेख्दा गाह्रो भएन ?
भएन । मेरो लेखाइ सरल नै छ । कानुनको भाषा लेख्दा कुन शब्द हाल्ने, त्यसको बेग्लै तरिका हुन्छ । कानुनका कतिपय शब्द उर्दू भाषाबाट सापटी ल्याइएका छन् । कानुनमा टिपिकल शब्द प्रयोग गर्नैपर्छ । तर, साहित्य सरल चाहियो । एक दिन मैले एउटा लेख लेखेर श्रीमान्लाई देखाएँ । उहाँले भन्नुभयो, ‘सबै जोडेर लामो–लामो शब्द हालेर कानुनी भाषाजस्तो लेखिएछ त !’ पूर्णविराम नै खोज्नुपर्ने मेरो लेख देखेर उहाँ रिसाएझैँ गर्नुभयो । अनि मैले लेख्न आदत बसालेँ— लेख र साहित्यको भाषा अलग, कानुनको भाषा अलग ।
उपन्यासमा प्रयुक्त प्रत्येक पात्रको जीवनलाई मसिनोसँग केलाइएको छ । ती महिला पात्रको सुषुप्त वेदना उपन्यासमा चित्रित छ । करिब तीस वर्षअघिका महिला पात्रको कथा–व्यथा अहिले बदलिएजस्तो लाग्छ ?
महिलाको लाउने र खाने कुरा बदलिएको छ । स्टाइल पनि बदलिएको छ । गाउँमा पनि महिला पेन्ट र कुर्ता सलवार लगाएर हिँड्छन् । तर, महिलाको स्तर उकासिएको छैन । आधुनिकताका नाममा महिलाका दुःख पनि थपिएका छन् । प्रविधिको आवश्यकता र सामाजिक स्तर मिलाउन महिलाले नै बढी संघर्ष गर्नुपर्छ ।
तर, उपन्यासका अनेक पात्रका कथा पढ्दा त्यो हिजोआजकै महिलाले भोगिरहेको समस्या हो कि झैँ प्रतीत हुन्छ !
उपन्यासमा मैले जेल बस्दा देखे–सुनेका कथा मात्रै छैनन् । ती पात्रका स्वभाव कसैसँग मिल्यो भने त्यो अनौठो हुन सक्छ । तीस बर्ष वकालत गर्दा मैले कैयन फौजदारी मुद्दा हेरेँ । कैयन घटनाबारे सुनेँ । कैयन मिसिल पढेँ । त्यो अनुभव पनि उपन्यासमा मिसिएकै छ ।
तपार्इंको इजलासमा आएका कैयन् मुद्दामा पनि उपन्यासका झैं पात्र थिए होलान् । तीमध्ये केही त परिस्थितिको दुष्चक्रमा पनि परेका होलान् । ती पात्रमाथि कानुन र प्रमाणको आँखाले मात्रै हेर्दा कहिलकाहीं न्याय सम्पादनमा गल्ती गरियो कि भन्नेजस्तो अनुभूति हुन्छ त ?
हेर्नुस्, बेन्चमा बस्ने न्यायाधीश न महिलाको हुन्छ, न पुरुषको । त्यो त केवल न्यायाधीश हुन्छ । उसले त प्रमाण केलाउने हो । एउटा बुहारीको भूमिका घरमा के हुन्छ ? एउटा सासू र छोरीको भूमिका के हुन्छ ? सबको आ–आफ्नै रोल हुन्छ । न्यायाधीशको पनि त्यस्तै हो । म घरमा श्रीमती हुँदा, छोराको आमा हुँदा पनि मेरो भूमिका फरक–फरक हुन्छ । न्यायाधीश हुँदा पनि मेरो भूमिका फरक हुन्छ । प्रमाणले ध्वस्त भएको मुद्दामा वा कहिलेकाहीं त महिलाले पनि झूटो बोलेर आएका हुन्छन् । त्यस्तो मुद्दामा महिलालाई जोगाउने भन्ने कुरै हुँदैन ।
उपन्यास पढ्दा त सबैजसो पात्र परिस्थितिजन्य अवस्थाबाट धकेलिएर अपराधी बनेको वा दुष्चक्रमा फसेको देखिन्छ नि !
नेपालको जेलमा बसेका दुई प्रतिशत महिला मात्रै साँच्चै आपराधिक दिमाग भएका होलान् । बाँकी त ब्यवहारमा फसेका हुन्छन् । जस्तो कि कोही पुरुषसँग शारीरिक सम्बन्ध भयो तर पुरुषले बिहे गर्ने बाचा तोड्यो । यस्तो अवस्थामा महिलाले सामाजिक लोकाचारबाट बच्न पनि गर्भपतन त गर्नुपर्‍यो । पुरुषले स्वीकार नगरेपछि, समाजमा कुमारी आमा भएर बस्ने स्थिति नभएपछि महिला त विवश हुन्छिन् । उपन्यासमा यस्तै परिस्थितिमा परेकी एउटी पात्र छिन् । समाजमा यस्ता हजारौं पात्र छन् । गर्भपतनकै कारण पनि पहिले महिलाहरू जेल पर्थे । पछि सरकारले गर्भपतनबारे अलग्गै कानुन बनायो । आज पनि सामाजिक ब्यवहारका कारण महिला पीडित हुने र अपराधी बन्ने अवस्था कायमै छ ।
धेरैजसो सरकारी कर्मचारी अवकाशपछिको जीवनमा कि घाम तापेर बस्छन् कि सरकारी नियुक्तिको दौडधुपमा लाग्छन् । तर, तपाईं अवकाशपछि किताब लेखिरहनुभएको छ । अखबारमा लेख पनि छपाउनुहुन्छ । यो ऊर्जा कसरी आउँछ ?
म चुप लागेर बस्नै सक्दिनँ । केही न केही गरिराख्यो भने ऊर्जावान भइन्छ । संसार छोडेर जानैपर्छ । आफ्नो ज्ञान किन मर्न दिने ? हाम्रा भोगाइबाट आगामी पिँढीलाई केही सहयोग हुन सक्छ । मान्छेले अवकाश कहिल्यै पाउँदैन् । आफ्नो कुरा भन्न मलाई कुनै लाज लाग्दैन ।

कोसेली

वनकालीमा कृपालु

- कृष्ण खनाल

पशुपति क्षेत्रस्थित वनकालीमा मनै खिच्ने उद्यान छ, ‘कृपालु उद्यान’ । एक वर्षअघि मैले एक जना आफन्तबाट त्यो उद्यानको झलक दिने एउटा सानो पुस्तिका हेर्ने अवसर पाएको थिएँ । यसबीच म दुई–चारपटक पशुपति पुगेको पनि छु, कहिले पशुपतिनाथको दर्शन गर्न त कहिले आर्यघाट वा किरियापुत्री भेट्न । तर, त्यो उद्यानतर्फ ध्यान दिने मेसो मिलेको थिएन । अहिले त उद्यान सबैका लागि खुला पनि भइसकेको छ ।
यो एउटा नमुना ‘आध्यात्मिक उद्यान’ रहेछ । रमणीय त उसै छ, त्यहाँ एकाध घण्टा विचरण गर्दा आध्यात्मिक आनन्द पनि मिल्छ, सनातन वैदिक सभ्यताको झलकसमेत पाइन्छ । पशुपतिक्षेत्र सुहाउँदो हेर्न र देखाउनलायक विशिष्ट एवं मौलिक महत्त्वको छ त्यो उद्यान ।
जगद्गुरु श्री कृपालुजी महाराज अपरिचित नाम होइन । उनका विचार, प्रवचन, भजनकीर्तनहरू प्रायः सबै आध्यात्मिक टीभी च्यानल, रेडियोमा दिनहुँ देख्न, सुन्न पाइन्छ । तिनमा प्रवाहित हुने ‘राधे राधे’ भक्ति रसधाराले सबैलाई मुग्ध र आनन्दित बनाउँछ । उनका प्रवचनमा भक्ति र ज्ञानको विलक्षण प्रतिभा बर्सिन्छ । त्यसैले उनलाई ‘भक्तियोग रसावतार’ भनेर पनि सम्बोधन गरिन्छ । ती प्रवचन म पनि बेलाबखत सुन्ने, हेर्ने गर्छु, आध्यात्मिक आनन्दको अनुभूति हुन्छ । श्यामा श्यामा धाम, (ठिमी) भक्तपुर उनका नेपाली अनुयायी अर्थात् ‘राधे राधे परिवार’ को नियमित भजनकीर्तन एवं सत्संगस्थल हो । उनका नेपाली शिष्य स्वामी हरिदासका प्रवचनमा पनि विलक्षण प्रतिभा देखिन्छ । यिनै हरिदासले आफ्ना गुरुको सम्झनामा त्यो उद्यानको परिकल्पना गरेका रहेछन् । कृपालुजी महाराजको आध्यात्मिक पथ अनुसरण गर्दै पाँच वर्षअघि स्थापित विद्वत् समाज नेपालले उद्यानको त्यो स्वरूपलाई साकार बनाएको छ । अर्थात् त्यसको शिल्प, संरचनादेखि भौतिक निर्माण एवं व्यवस्थापनको जिम्मेवारी समाजले लिएको छ । समाजमा इन्जिनियरिङलगायत सबै विधाका बौद्धिक व्यक्ति संलग्न छन् । उद्यानकलामा नेपाली इन्जिनियरहरूको विशिष्टता पनि देख्न सकिन्छ ।
उद्यान मात्र होइन प्रकृति, अध्यात्म र कुञ्जको अनुपम संयोजन देख्न पाइन्छ त्यहाँ । वैदिक एवं पौराणिक सनातन दर्शन र अध्यात्मको झाँकी दिनेगरी उद्यानको संरचनाले दर्शकलाई हाम्रो प्राचीन सभ्यताको दिव्य स्मरण गराउँछ । शिव–पार्वती, सीताराम र राधाकृष्णका लीलासँग जोड्ने शिव–पार्वती वाटिका, पुष्प वाटिका, शिवानी कुञ्ज, एकादश रुद्र पर्वत, गोवर्धन पर्वतजस्ता पौराणिक एवं धार्मिक सन्दर्भ भएका वाटिकामात्र होइन कर्म, ज्ञान र भक्ति तथा त्यससम्बन्धी बहस/विमर्शको प्राचीन परम्परासमेत स्मरण हुने गरी चिटिक्क पारिएका महापुरुष चौतारी, शास्त्रार्थ बैठक, भक्ति सोपान, आशुतोष प्रांगण, नटेश्वर डबलीले उद्यानको गरिमा बढाएका छन् । दर्शकलाई पौराणिक कथाका महत्त्वपूर्ण घटनामा डोर्‍याउँछ । संगैको वनकाली मन्दिर र ‘वनकालीवाग’ नाम दिइएको रमणीय खण्डले उद्यानस्थलको प्राचीन पहिचानलाई सुरक्षित राखेको छ ।
उद्यानमा गरिएको व्यवस्थाले सूक्ष्म तर प्रकृति संरक्षणको महत्त्वपूर्ण सन्देश दिन्छ । उद्यानमा भूक्षय रोकथाम तथा वर्षात्को पानीलाई सुरक्षित रूपमा प्रकृतिमै फर्काउने व्यवस्थापन हाम्रो निजी आवासका लागि पनि अनुकरणीय लाग्यो । त्यहाँ प्रयोग गरिएको प्राकृतिक प्रविधिमा न कुनै खर्च लाग्छ, न कुनै विशिष्ट प्राविधिक ज्ञान नै चाहिन्छ । आफ्नो सानो घर–कम्पाउन्डमा पनि सजिलैसंग यो विधिलाई सजिलै प्रयोग गर्न सकिन्छ । घरमा धोईपखाली गर्दा बाहिरिने तथा वर्षाबाट आउने पानीलाई ढल वा सडकमा नपठाई आफ्नो घर–कम्पाउन्डभित्र सानो कुलेसोका माध्यमबाट थोरै शुद्धीकरणसहित जमिनभित्रै सोसिने व्यवस्था गर्न कुनै कठिनाइ हुँदैन । प्रकृतिप्रतिको चेतनाबोध र थोरै लगनशीलता भए पुग्छ ।
नियमित रूपमा पशुपतिमा टहलिन जाने जोसुकैले पनि उद्यान बनाउनुपूर्व वनकालीको त्यो खण्डको दुरवस्था देखेकै हुनुपर्छ । भूक्षयग्रस्त, फोहोरको डंगुर लागेको, दुर्गन्धित र वनजर अवस्थामा थियो त्यो ठाउँ । उद्यान निर्माणपछि त्यहाँको कायापलट भएको छ । हुन त, त्यस क्षेत्रमा २०४४ सालदेखि पशुपति क्षेत्र विकास कोषले काम गरिरहेको छ । कोषका लागि पनि उद्यान एउटा पाठ सिक्नलायक उदाहरण बनेको छ । कोषको काम पशुपतिनाथ मन्दिरको भेटी, पुजारी, शिवरात्रि वा तीजको प्रवन्ध, घाट र क्रियाकर्म मात्र यसका गतिविधि होइनन् । विश्व सम्पदामा सूचीकृत अन्तर्राष्ट्रिय महत्त्वसमेत पाएको त्यो क्षेत्रको सम्पदा संरक्षण, प्राकृतिक सौन्दर्यको विकास एवं संवर्द्धन, धार्मिक तथा आध्यात्मिक चिन्तन एवं विमर्श पनि कोषका महत्त्वपूर्ण कार्यक्षेत्र हुन् । ऐनले पनि उसलाई ती जिम्मेवारी दिएको छ । विश्व सम्पदामा सूचीकृत यो क्षेत्रको अझै अपेक्षित विकास हुन सकेको छैन । कोष आफैंले नभ्याउने र नसक्ने धार्मिक/आध्यात्मिक महत्त्वका काम अरूसँग साझेदारी गर्न सक्छ ।
पश्चिमा चिन्तन, संस्कृति र जीवनशैलीले हामीलाई भोगवादी मात्र बनाएको छैन, हाम्रा प्राचीन सभ्यता, संस्कृति र ज्ञानबाट पनि हामीलाई तीव्र गतिमा विमुख बनाउँदै छ । युरोप, अमेरिकामा जन्मेका हुर्केका र अध्ययन गर्दै रहेका हिन्दु परिवारका युवा विद्यार्थीमा सांस्कृतिक पहिचानको संकट बढ्दो छ । थोरै होलान् तर नेपाली समुदाय पनि यसमा अपवाद छैन । विदेशमा बस्नेको मात्रै पनि कुरा होइन यो । देशभित्रै पनि नयाँ पुस्ताका केटाकेटी तथा युवा जमातलाई हिन्दु सभ्यता र संस्कृतिबारे राम्रो र व्यावहारिक रूपमा चिनाउने आधार छैन । केही पूजापाठ र कर्मकाण्डबाहेक परिवारमा पनि त्यो संस्कार लोप हुँदै गएको छ । उद्यानमा प्राचीन वैदिक सभ्यता, संस्कृति र दर्शनको झलक दिनेगरी बनाइएका वाटिका, सिँढी, कुञ्ज आदिले प्राचीन नाम मात्र सम्झाउने होइन, त्यससँग जोडिएका अर्थ र सन्दर्भलाई पनि व्याख्यात्मक ढंगले बुझाउन सकिन्छ । उदाहरणका लागि उद्यानभित्र तीनवटा बाटो (सिँढी) लाई कर्ममार्ग, ज्ञानमार्ग र भक्तिमार्ग भनिएको छ र त्यसको संगमलाई ‘त्रिवेणी’ नाम दिइएको छ । कर्म, ज्ञान र भक्ति पूर्वीय जीवनदर्शनका अत्यन्त महत्त्वपूर्ण पक्ष हुन् ।
उद्यान अवलोकनपछि कसैलाई पनि मनमा लाग्न सक्छ, यसको भविष्य अर्थात् दीघकालीन व्यवस्थापन र निरन्तरता कसरी होला ? पशुपतिक्षेत्र बाँदरको बिगबिगी भएको ठाउँ हो । भनाइ नै छ, बगैंचालाई विरूप पार्न एउटै बाँदर काफी छ । तर, उद्यानमा बाँदरको कुनै उपद्रो देखिन्न । उद्यान व्यवस्थापकलाई बरु नररूपी बाँदरको बढी चिन्ता छ । प्रवेश शुल्क लिएर मात्र पनि त्यसको सुरक्षा र सौन्दर्य जोगाउन सकिन्न । नियन्त्रित, प्रायोजित र उद्देश्यमूलक प्रवेश एउटा उपाय हुन सक्छ ।

Page 23
कोसेली

अभिभावकलाई बालसाहित्य

हामीले छोराछोरीका निम्ति पुस्तक पढेर सुनाएका छौं ? कसरी पढेर सुनाएका छौं ? पढेपछि सम्बन्धित विषयमा छलफल गरेका छौं ? अब यस विषयमा घोत्लिनुपर्छ ।
- भवसागर घिमिरे

राजधानीको थापाथलीमा चलेको पुस्तक बिक्री कक्ष । एउटी आमा आफ्नो ९ वर्षे छोरालाई मनाउने प्रयासमा थिइन्— नेपाली बाल पुस्तक किन्नका लागि । उनको हातमा छोराले नै छानेका तीन अंग्रेजी बालपुस्तक पहिल्यै थिए । बजारमा के–कस्ता पुस्तक आएका छन् ? जान्नका लागि केही घण्टाअघिदेखि र्‍याकहरू चहार्दै गरेको मेरो ध्यान त्यो दृश्यमा पुगेर अडियो । आखिरीमा एउटा मात्रै नेपाली बालपुस्तक जबरजस्ती किनेर उनी छोरासहित बाहिरिइन् । उनीहरू बाहिरिएपछि मेरा आँखामा पुस्तक कम र प्रश्नहरू बढी नाँच्न थाले— किन त्यो बालकलाई नेपाली पुस्तक मन परेन ? के हामीले मन छुने सिर्जना पस्कन सकेनौं ? कि अभिभावकले नै नेपाली बालसाहित्यलाई बुझ्न सकेनन् ? वा छोराछोरीलाई बुझाउन् सकेनन् ? प्रकाशन गृहको लगानीमा कमजोरी रह्यो कि ? यी प्रश्नबारे छलफलको ढोका उघार्ने प्रयत्न
यहाँ गर्नेछु ।

हामी कस्ता लेखक ?
चालीसको दशक । दिदी र दाइ कक्षा चढेपछि । किताबको गाता झरेपछि मात्र मेरो हातमा स्कुले पाठ्यपुस्तक पर्थे । बाल साहित्य भनौँ वा विश्व–विज्ञान । हाम्रा निम्ति ती सबथोक थिए । पछिल्लो एक दशकमा भने बाल साहित्यमा पुस्तकको संख्या ह्वात्त बढ्यो । अहिलेसम्म तीन हजारभन्दा बढी संख्यामा प्रकाशित भैसकेका बाल पुस्तकमध्ये प्राथमिक तहका चित्र–कथाको संख्या बढी छन् । माथिल्लो कक्षाका लागि उपन्यास र च्याप्टर बुक कम छन् । मातृभाषाका पुस्तक नगण्य छन् ।
बाल शिक्षामा कार्यरत ‘रुम टु रिड’ ले संस्थालाई प्राप्त २ हजार हाराहारीका बाल साहित्यका पुस्तकमाथि एक अध्ययन गरेको थियो । अध्ययनअनुसार, कुल पुस्तकमध्ये स्वैरकल्पनामा ३४ प्रतिशत र गैरआख्यानमा ३२ प्रतिशत पुस्तक प्रकाशित रैछन् । २८ प्रतिशत लोककथाका अनि एक प्रतिशत मात्र विज्ञानका रहेछन् । विज्ञानका कथाले बाल मनमा नयाँ खोजी गर्न भोक जगाउँछ । ‘प्रयोग र प्रमाणमा’ विश्वास गर्ने विज्ञानका विषयमा लेखकका कलम कम चलेको छ । ह्युमर तथा एडभेन्चरस विधाको हातल पनि उस्तै छ । हामी अर्तीउपदेशका कथामा बढी रुमल्लियौं कि भन्ने प्रश्न यस नतिजाले उब्जाउँछ ।
कहिलेकाहीं फर्केर हेर्छु । मेरा पुस्तकमा पनि कमजोरी छन् । रुम टु रिडबाटै केही वर्षअघि ‘माछा र बकुल्ला’ पुस्तक प्रकाशित भयो । कसरी माछाहरू बकुल्लाबाट बच्न सफल भए भन्ने चित्रकथा छ यसमा । थोरै विज्ञान, थोरै स्वैरकल्पनाको समिश्रण भएको कथाको अन्त्यमा माछाहरूको जित हुन्छ । जितेपछि उनीहरूले बकुल्लाहरूको प्वाँख काटिदिन्छन् । अहिले लाग्छ, मैले किन कथाबाट बालबालिकामा प्रतिशोध सिकाएँ ? पराजितमाथि यस्तो व्यवहार सही हुँदै होइन । मानौं, विद्यालयमा दौड जितेकाले हारेको साथीको सर्ट च्यातिदिँदा उसको मनमा के गुज्रेला ? यसैले हामीले ‘कति कृति लेख्यौं भन्दा पनि कस्ता कृति लेख्यौं’ ले बढी महत्त्व राख्छ । हरेक कमजोरी परिमार्जन गर्ने तथा नवसिर्जना नयाँ शिराबाट सुरु गर्ने हुटहुटी जागिरहनु नै असली लेखक हुनु हो ।
मध्यप्रदेश भारतको एक कुनामा आधार बनाएर तयार पारिएको पुस्तक ‘द जंगल बुक’ ले विश्वको ध्यान खिच्यो । हाम्रो देशमा पनि सर्लाहीदेखि सोलुखुम्बु अनि जनकपुरदेखि जाजरकोटसम्म कथाको कमी त पक्कै छैन । लाग्ला, हाम्रो भाषा विश्वव्यापी भएन । ‘सिन्ड्रेला’, ‘स्नो ह्वाइट’ लेख्ने ग्रिम्स ब्रदरले ‘परिका कथाहरू’ सुरुमा जर्मन भाषामा जम्मा पारेका थिए । ‘द इम्पेरियर्स न्यु क्लोथ’ लेख्ने ह्यान्स क्रिस्चियन एन्डर्सनले यो पुस्तक डेनिस भाषामा लेखेका थिए । उनीहरूका पुस्तकहरू पनि विश्वव्यापी भए । यी सबै कथामा एउटै समानता छ, ‘मानवीय संवेदना’ । संसारको सबैभन्दा ठूलो भाषा नै यही हो । यही संवेदनाको चाबीले पुस्तक बिक्री कक्षमा भेटिएको बाबुजस्ता नयाँ पुस्ताको मनको ढोका खोल्नु नेपाली बालसाहित्य सर्जकका निम्ति अवसर र चुनौती दुवै हुन् । अवसर अँगाल्न अनि चुनौती सामना गर्न भोलिका दिनमा हामी कस्ता लेखक बन्ने ? यी प्रश्नको उत्तर खोज्न, हामीले आफ्नै अनुहार पनि ऐनामा हेर्नुपर्छ ।

हामी कस्ता अभिभावक ?
छोराछोरीलाई पुस्तकालय लगेर किताब छान्न सघाउने माथिकी आमाजस्ता अभिभावक हामीमाझ कम छन् । मध्यम र निम्नवर्गीयको वर्चस्व छ । पुस्तक गन्नुभन्दा पेट भर्नु उनीहरूको मूल प्राथमिकता हो । उनीहरूमध्ये पनि थोरै छन्, जसले पुस्तक किन्ने सोच्छन् । तर, पचासौंपटक सोच्छन्, ‘केटाकेटीका लागि किताब किन किन्ने ?’ यही प्रश्नको उत्तर हाम्रा पुस्तकहरूले धित मर्ने गरी दिन नसकेको तीतो यथार्थ हो ।
मार्था क्रिपेनको ‘द भ्यालु अफ चिल्ड्रेन लिटरेचर’ लेखका अनुसार, बाल साहित्यले बालबालिकालाई सहित्यबारे रुचि बढाउन मात्र नभई सम्बन्धित विषयमा आफ्नो धारणा विकास गर्ने मौकासमेत दिन्छ । पुस्तकले उनीहरूलाई आफू र अरूको समाज अनि संस्कृतिबारे सिक्ने र बुझ्ने बाटो खुलाइदिन्छ । संस्कृतिहरूबारे सकारात्मक धारणको विकास गर्नु बालबालिकाको व्यक्तिगत तथा सामाजिक विकासका लागि निकै महत्त्वपूर्ण छ । अनओटा रिडिङ जर्नलमा प्रकाशित क्रिपेनको यो लेखमा बालसाहित्यले मनोरञ्जनसँगै बालबालिकामा संवेदनशीलता तथा नैतिकताको विकास गर्न सघाउने कुरा उल्लेख छ । यी क्षमता उनीहरूले साहित्यका पात्रबाट प्रभावित भएर नजानिँदो रूपले सिकिरहेका हुन्छन् ।
हामीसँग सन्तानले पढेनन्, नेपाली जानेनन् भन्ने गुनासोको भारी मात्र ठूलो हुन्छ । के हामीले छोराछोरीका निम्ति पुस्तक पढेर सुनाएका छौं ? कसरी पढेर सुनाएका छौं ? पढेपछि सम्बन्धित विषयमा छलफल गरेका छौं ? यसमा पनि घोत्लिनुपर्छ । बच्चाहरूले नेपाली भाषामा चासो नराख्नुमा हामी अभिभावक पनि उत्तिकै जिम्मेवार छौं । एक प्लेट मःमभन्दा कम पैसाको नेपाली बाल पुस्तक किन्न हामीलाई ज्वरो आउँछ । अन्य विधा र बाल साहित्यका पुस्तकबीचको भिन्नताबारे बेलायती उपन्यासकार रोल्ड डालको भनाइ यतिबेला सम्झनु उपयुक्त हुन्छ । उनका अनुसार, बालबालिकाले एउटै पुस्तक दोहोर्‍याई–तेहर्‍याई पढ्नु बाल साहित्यको सुन्दर पक्ष हो । उनीहरू धेरैपटक एउटै कृतिमा रमाउन सक्छन् । यसरी एकै खर्चमा बाल मनलाई धेरैपटक कल्पनाको संसारमा सयर गराउने पुस्तकमा लगानी गर्न चुकचुकाउने हामी कस्ता अभिभावक ?
हुन त पुस्तक किनेर नानीहरूलाई दिँदैमा अभिभावकको कर्तव्य सकिँदैन । बुझ्नुपर्छ, राम्रा बाल पुस्तकले सबै प्रश्नको उत्तर दिँदैन । बरु बालबालिकाको मनमा प्रश्नहरू उब्जाउँछन् । उत्तर खोज्दै गर्दा अभिभावक र सन्तानबीच छलफलको ढोका उघारिन्छ । उदाहरण मानौं, एउटा बाल पुस्तकको एउटा पृष्ठमा छ, ‘डम्म हुस्सुका बीच तराईको एउटा घर छ । घरअघि एउटा सानी नानी छिन् । नानीको काखमा सानो पाठी छे । पाठीले स्वेटर लगाएकी छे ।’ यो एउटा चित्रले बाल मस्तिष्कमा सयौं प्रश्न उब्जाउन सक्छ । नानीको काखमा के होला ? बाख्राको पाठीले पनि स्वेटर लगाउँछे र ? कसले लगाइदियो ? यो ठाउँ कहाँ हो ? तराई भनेको के हो ? यस्तै यस्तै । मात्र एउटा चित्रबाट जन्मेको छलफलले बाल मस्तिष्कमा हिमालदेखि तराईसम्म फैलिएको नेपालको विशाल नक्सा कोर्दिन सक्छ । थेप्चो नाक र राता गाला देख्दैमा ‘भोटे’ अनि कालो अनुहार देख्दैमा ‘धोती’ भन्न सिकाउने हाम्रो सामाजिक सोचबाट थोरै बाहिर निकालेर ‘नेपाल के हो र नेपाली को हो ?’ सम्म पनि बुझाउन सकिन्छ । मोबाइलको साटो पुस्तकै सही, यसले उनीहरूलाई नयाँ संसारबारे सोच्न र बुझ्न त मद्दत गर्छ । संसार बुझ्ने यो यात्रामा उनीहरूलाई समय दिएर सघाउनु, बालसाहित्यलाई नजिकबाट नियाल्नु, प्रश्न गर्नु र निखार्न सघाउनु सबै अभिभावकको कर्तव्य हो । किनकि बालसाहित्य, बालबालिकाको मात्र विषय हैन अभिभावकको पनि उत्तिकै हो ।

तपाईं कस्तो प्रकाशक ?
हामी बाँच्नका लागि लेख्छौं कि लेख्नका लागि बाँच्छौं भन्ने प्रश्न अरू साहित्यजस्तै बाल साहित्यमा ठूलो छ । ‘अब कस्ता पुस्तक लेखिनुपर्छ ?’ केही हप्ताअघि ‘रुम टु रिड’ ले यस विषयमा राजधानीमा छलफल डाकेको थियो । जम्मा भएका दस लेखक कोही विद्यालय छुट्टी लिएर आएका थिए, कोही कार्यलयबाट भागेर । खासमा घरको अन्नपानी आउने ठाउँलाई केही बेर बुझो लगाएर गएका थिए । एउटा बालपुस्तक बजारमा आउनुअघि लेखकले धेरै ठाउँमा यस्ता बुझो लगाएका हुन्छन्, जसलाई लेखकले मात्रै राम्ररी बुझ्न सक्छन् ।
तीन वर्षअघिको कुरा । म बेरोजगार थिएँ । एउटा प्रकाशन गृहमा मैले पुस्तकका निम्ति कथा बुझाएँ । ‘प्रक्रियामा जानुअघि छलफल गरौं ह,ै’ भनेको पनि थिएँ । केही महिनासम्म थाहापत्तो भएन । धेरैपछि फोन गर्दा ‘चित्र बन्दै छ चाँडै प्रेसमा जान्छ’ भन्ने खबर आयो । ‘मैले लेखकको रूपमा के पाउने ?’ कुनै सम्झौता भएको थिएन । यही प्रश्न राख्दा, उनीहरूले संस्थाको नियम सुनाए, ‘पुस्तक छापेबापत पाँचवटा पुस्तक अनि ५ हजारमा ट्याक्स काटेर जम्माजम्मी ४२ सय ५० रुपैयाँ पाउनुहुनेछ ।’
काठमाडौंको कहलिएको एउटा प्रकाशन गृहले बालसाहित्य सर्जकलाई गर्ने व्यवहारको एक उदाहरण हो यो । आफ्नो रचना छोराछोरीजस्तै प्यारो हुन्छ, सर्जकका लागि । आर्थिक पक्ष त टाढाको कुरा, आत्मसम्मान पहिला आउँछ । मौखिक नै किन नहोस्, स्वीकृति वा सम्झौताबिना नै पुस्तकलाई छाप्ने प्रक्रियामा लैजानु सर्जकको ठूलो अपमान हो । मैले तत्कालै कथा फिर्ता लिएँ । जुनीभर पुनः छाप्न र बेच्न पाइने एउटा पुस्तकका लागि सिर्जेको सिर्जना थियो त्यो । त्यसबापत लेखकले आर्थिक रूपले पाउने त्यत्ति नै हो भने बाल साहित्यकार किन लेख्नका लागि बाँच्छ ? यद्यपि सबैतिर अवस्था उस्तै भने छैन । उमेर र कक्षाअनुसारका पुस्तकको प्रकाशन गर्ने, डिजाइन, चित्र अनि मार्केटिङमा मिहिनेत गर्ने अभ्यास पनि अन्य केही प्रकाशकले सुरु गरेका छन् । पुस्तक विक्रेताबाट पैसा सजिलै नउठ्ने बाध्यता पनि छ प्रकाशकका । तैपनि केही वर्षयता रोयल्टी वा एकमुष्ठै भए पनि थोरै राम्रो रकम जुर्न थालेको छ बाल साहित्यमा । यसले ‘लेख्नका लागि बाँच्न’ सर्जकहरूलाई प्रेरित गरेको छ । लेखक, प्रकाशक र अभिभावक सबैले आफ्ना कमीकमजोरी निखार्नु नै बालसाहित्यलाई माथि उठाउने दह्रिलो काँध हो । यसो भएमात्र माथिको पुस्तक बिक्री कक्षमा भेटिएको सानो बाबुलगायत आम भाइबहिनीले नेपाली बाल पुस्तक आफैँ खोजी–खोजी पढ्न थाल्नेछन् ।
Twitter @Bhabasagar

कोसेली

गौरिकापथमा डुआना

गौरिका सिंहको चार स्वर्णले १३ औं दक्षिण एसियाली खेलकुद ‘गौरिकामय’ बनाइदियो । १३ वर्षीया डुआना लामाले पनि २ कांस्यसहित ५ पदक जितिन् ।
- राजु घिसिङ

पौडीमा गौरिका सिंहको प्रवेश नै स्वर्णिम थियो । उनले ११ वर्षकी छँदै साउन, २०७१ मा भएको १९ औं राष्ट्रिय खुला पौडीमा सनसनी मच्चाउँदै आठ स्वर्ण र एक रजत जितेकी थिइन् । आठपल्ट राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । प्रतियोगिताकै सर्वाधिक सफल खेलाडी भए पनि उनले ‘उत्कृष्ट खेलाडी’ को पुरस्कार पाइनन् । उनलाई त्यो पुरस्कारको मतलब पनि थिएन । किनभने बच्चा नै थिइन् । ‘ए’ लेबलमा अध्ययनरत उनी अहिले पनि आफूलाई बच्चै मान्छिन् ।
दक्षिण एसियाली खेलकुद (साग) को एउटै संस्करणमा सबभन्दा बढी चार स्वर्ण जित्ने पहिलो नेपाली बनेपछि गौरिकाले भनिन्, ‘अब रमाइलो गर्ने किनभने म बच्चा नै छु ।’ १३ औं सागमा पौडीको प्रतिस्पर्धा सकिएपछि उनले ‘तारेको आलु खान नपाएको एक महिना भयो, अब खाने हो’ भनेपछि सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा हाँसो गुन्जिएको थियो । उनले १३ औं सागमा ४ स्वर्ण, २ रजत र ३ कांस्यसहित नौ पदक जित्दै इतिहास कोरिन् । उनले १२ औं सागको पौडीमा १ रजत र ३ कांस्य हात पारेर तीन वर्षअघि नै नेपाली खेलकुदमा ‘गौरिका युग’ को संकेत दिएकी थिइन् । उनी पौडीको व्यक्तिगत स्पर्धामा सागमा पदक जित्ने पहिलो नेपाली हुन् । यसपालि सागको ३५ वर्षे इतिहासमा पौडीबाट स्वर्ण चुम्ने पनि पहिलो भइन् ।
तेक्वान्दोमा ४ स्वर्ण जितेका दीपक विष्टको कीर्तमान बराबरी गरेकी १७ वर्षीया गौरिका मात्र होइन, अरू खेलाडीमा पनि सम्भावना देखियो । गौरिकाले १३ वर्षको छँदा सन् २०१६ को सागमा जसरी चार पदक जितेकी थिइन, त्यसैगरी यसपालि डुआना लामा उदाएकी छन् । १३ वर्षीया डुआनाले व्यक्तिगत स्पर्धामा २ रजत र टिम स्पर्धामा ३ कांस्य गरी ५ पदक हात पारिन् ।
पौडीमा प्रतिस्पर्धा गर्न थालेको ५ वा ६ वर्षको छँदा हो, ठ्याक्कै याद छैन डुआनलाई । उनलाई गौरिकाले पहिलोपल्ट प्रतिस्पर्धा गरेको क्षण भने सम्झना छ, साउन २०७१ को । गौरिकाले भने त्योबेला डुआनालाई चिनेकी थिइनन् । तीन वर्षअघिको डुआनासँग भएको भेट सम्झन्छिन् गौरिका, ‘उनलाई पदक नजितेकोमा चिन्तित भएको देखें । अहिले (पदक जित्दा) धेरै
खुसी लाग्छ ।’
राष्ट्रिय प्रतियोगितामा गौरिकाले सफलता हात पारिरहेको ती क्षणबारे डुआना भन्छिन्, ‘म उमेर समूहमै खेलिरहेकी थिएँ । बिस्तारै खुला (सिनियर) प्रतियोगितामा खेल्न थालें । बिस्तारै मेडल पाउन थालें । तर, जहिले पनि गोल्ड जित्न सक्दैन । प्रयास गर्थं, गर्नुपर्छ । स्वर्ण नपाएकोमा दुःखी हुनुभन्दा पनि मलाई अब कडा मिहिनेत गर्छु भन्ने लाग्थ्यो ।’ गौरिकाले ६ वर्षे करिअरमा एकपछि अर्को गर्दै कीर्तिमान बनाइरहेकी छन् । उनकै पथमा छिन् डुआना । उनले गौरिकाकै केही राष्ट्रिय कीर्तिमानलाई पनि उछिनेकी छन् ।
पाटन अस्पतालमा जन्मिएकी गौरिका लन्डनमा ट्रेनिङ गर्छिन् । पौडीका लागि विशेष प्रशिक्षण लिन थालेको ५ वर्ष भयो । डुआना झन्डै एक वर्षयता फुकेट (थाइल्यान्ड) मा कोलिन ब्रान्डसँग ट्रेनिङ गरिरहेकी छन् । गौरिका १२ औं सागमा पदक जित्ने लक्ष्यमा थिइनन् । त्यसैले उनले गुवहाटीमा प्राप्त चार पदकलाई बोनस मानेकी थिइन् । यसपालि डुआनाले पनि पदक अपेक्षा गरेकी थिइनन् । व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमै उनले ५ पदक हात पारिन् । उनले टिम स्पर्धामा ३ कांस्य त गौरिकासँगै जितिन् । ‘गौरिका र टिमसँग रमाइलो भयो । टिममा सँगै जित्दा अनुभव बाँड्न पाइन्छ, मज्जा आउँछ,’ डुआनाले भनिन्, ‘गौरिका साँच्चिकै उत्कृष्ट छिन् । म पनि ठूली भएर उनीजस्तै हुनेछु । मेडल जित्नेछु । गोल्ड देखाउनेछु । उनका लागि म वास्तवममै धेरै खुसी छु ।’ उनको यो भनाइपछि गौरिका भावुक भइन्, ‘माया लाग्यो ।’
गौरिकाले १३ वर्ष २५५ दिनको छँदै रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गरिन्, जहाँ उनी १० हजार बढी खेलाडीमध्ये सबभन्दा कान्छी थिइन् । त्यसले उनलाई विश्वव्यापी चर्चा दिलायो । एउटा देशको सहभागिता निश्चित गर्न पाएको अवसरमा ओलम्पिकमा पुगेकी उनी फेरि विश्व खेलकुदको महाकुम्भमा प्रतिस्पर्धा गर्न चाहन्छिन् । गृष्मकालीन ओलम्पिक अर्को वर्ष टोकियोमा हुदै छ, जहाँ उनी छनोट पार गरेरै खेल्न चाहन्छिन् । छनोटमार्फत टोकियोको टिकट काट्न उनलाई सजिलो भने छैन, अहिलेको समयमा धेरै सुधार गर्नु आवश्यक देखिन्छ ।
हालसम्म नेपालबाट तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले मात्रै छनोट भएर ओलम्पिक खेलेका छन् । गौरिका भन्छिन्, ‘सपना त हो, देख्नुपर्छ अनि आफ्नोतर्फबाट उत्कृष्ट प्रयास गर्नुपर्छ ।’ डुआनाको सपना पनि ओलम्पिक नै हो । ‘मेरो लक्ष्य अर्को सागमा मेडल जित्ने हो,’ कक्षा ८ मा अध्ययनरत डुआनाले भनिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने चाहना छ । मेरो सपना ओलम्पिक खेल्ने नै हो ।’ सीधा प्रवेशको बाटोभन्दा माथि उक्लिएर छनोटमार्फत ओलम्पिक जाने हो भने उनले गौरिकाको अहिलेको स्तरलाई पनि उछिन्नुपर्छ ।
गौरिकाको सफलताको आधार परिवारले तय गरिदिएको हो । उनकी आमा गरिमा राणा (२०५० सालको एसएलसी बोर्डफस्ट) व्यवस्थापक पनि हुन् । गरिमा र बुबा पारस मात्र होइनन्, पूरा सिंह–राणा परिवार नै गौरिकाको खेलको स्तरलाई कसरी निरन्तर सुधार गर्ने भन्नेमा लागिरहेको छ । छोरीको स्वर्णिम यात्राबारे गरिमा भन्छिन्, ‘प्रशिक्षकको कार्यक्रम छोरीलाई मिलेकाले सफल भएको हो । हामीले अरूका अभिभावकले जस्तै बच्चाको चाहना पूरा गर्न साथ दिएका मात्रै हौं ।’ एक वर्षयता लन्डनस्थित क्याम्डेन स्विस कटेज स्विमिङ क्लबमा एडम टेयलरसँग प्रशिक्षण गरिरहेकी गौरिकाले यो सागका लागि निजी रूपमै व्यवस्था गरिएका ट्रेनर (ओमिद गोलानी) र फिजियोथेरापिस्ट (एआई जमल) सँग काम गरेकी थिइन् ।
आइरिस आमा र नेपाली बुबाका छोरी हुन् डुआना । यो परिवार पनि छोरीको चाहनाअनुसार अगाडि बढ्न चाहन्छ । ‘स्विमिङमा सफल खलाडी बन्ने छोरीको चाहनाअनुसारै उनलाई फुकेटमा पढ्ने व्यवस्था गरिएको हो,’ डुआनाका बुबा मुखिया लामाले भने, ‘छोरीले जबसम्म स्विमिङ खेल्छिन्, तबसम्म पूर्ण साथ दिइनेछ ।’ डुआना फुकेटमा सातामा १९ घण्टासम्म ट्रेनिङ गर्छिन् भने गौरिका लन्डनमा १८ घण्टा ।
१३ औं सागमा गौरिकाको नाम १२ स्पर्धामा दर्ता गरिएको थियो । तर, नौ स्पर्धा मात्रै खेलिन्, सबैमा पदक जितिन् । एकपछि अर्को स्पर्धा लगत्तै खेल्दा प्रदर्शनमा असर पर्ने भएकाले उनले तीन स्पर्धा त्यागेको बताइन् । आयोजकको नाताले पनि नेपालले आफ्नो सम्भावनाअनुसार ‘उपयुक्त तालिका’ बनाएको भए गौरिकाले नेपाललाई थप पदक दिलाउन सक्थिन् । उनले भारतकी शिवांगी शर्मालाई रोमाञ्चक प्रतिस्पर्धामा उछिन्दै १ सय, २ सय र ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । उनले २ सय मिटर ब्याकस्ट्रोकको स्वर्णको होडमा भारतकै मन्ना पटेललाई पछाडि पारेकी थिइन् । उनलाई तिनै मन्नाले ५० र १ सय मिटर ब्याकस्ट्रोकमा भने रजतमै रोकिदिइन् ।
गौरिका, डुआना, तिसा शाक्य र अनुसिया तण्डुकारको टिमले चार गुणा १ सय र चार गुणा २ सय मिटर फ्रिस्टाइल रिले तथा चार गुणा १ सय मिटर मिड्ले रिलेमा कांस्य हात पार्‍यो । ‘हामीले १२ औं सागमा रिलेबाट मेडल जितको थिएन । यसपालि पनि अपेक्षा थिएन । तीन कांस्य जित्यौं र यसले हामी अब अरू देशका लागि प्रतिस्पर्धी बनेका छौं,’ गौरिकाले भनिन् । डुआनाले २ सय मिटर बटरफ्लाई र २ सय मिटर ब्रेस्टस्ट्रोकमा रजत जितेकी हुन् । उनले दुई स्पर्धामा पदक छुन सकिनन् । १६ वर्षीया तिसाले २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा कांस्य हात पारेकी हुन् ।
गौरिकाले सागको दुई संस्करणबाट १३ पदक (४ स्वर्ण, ३ रजत, ६ कांस्य) हात पारेकी छन् । सबभन्दा बढी पदक जित्नेमा उनले स्वर्गीय सुनीललाल जोशीको कीर्तिमानभन्दा एक पदक मात्रै पछाडि छिन् । निरन्तर राष्ट्रिय कीर्तिमान बनाइरहेकी गौरिका भन्छिन्, ‘मैले अरूको रेकर्ड तोडें । अरूले मेरो रेकर्ड ब्रेक गरोस् भन्ने हो । उनीहरूले बनाउने रेकर्ड पनि धेरैले तोडेर देशका लागि सफलता दिलाएको हेर्न चाहन्छु ।’ उमेरअनुसार प्रगति भइरह्यो भने गौरिकाको कीर्तिमान तोडेर अगाडि बढ्ने अवसर छ, डुआनालाई । किनभने उनलाई पौडीका लागि राम्रो अवस्थामा पुग्ने उमेरले प्रतीक्षा गरिहेको छ ।
Twitter : @rghising

Page 24
कोसेली

‘मानिसको शरीर माटाको घैंटोजस्तो’

- नरेन्द्र रौले

रमेश विकल (विसं १९८५–२०६५) विख्यात नेपाली साहित्यकार हुन् । ‘अविरल बग्दछ इन्द्रावती’, ‘नयाँ सडकको गीत’, ‘एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा’ उनका चर्चित किताब हुन् । विकल स्मृति दिवस (पुस २) को सन्दर्भमा प्रस्तुत छ, उनको अप्रकाशित अन्तर्वार्ता । 

फेरि भेटौंला है भन्दै छुटेका कत्ति भेट पहिलो र अन्तिम बन्न पुग्छन् । लेखक रमेश विकलसँगको मेरो भेट पनि त्यस्तै भयो ।
‘कोसेली’ का लागि अन्तर्वार्ता लिन म रमेश विकलको घर खोज्दै आरुबारी पुगेको थिएँ, ०६५ मंसिर पहिलो साता । घरको छतमा पारिलो घाम ताप्दै विकल (८१) केही लेखिरहेका थिए । त्यसबेला उनी मेरी शेली (पीबी शेलीकी श्रीमती) को विज्ञान उपन्यास ‘फ्र्यांकस्टेइन’ लाई नेपालीमा अनुवाद गर्दै थिए, ‘भस्मासुर’ शीर्षक दिएर । सँगै आफ्नो आत्मकथाको दोस्रो भाग पनि लेख्दै थिए ।
विकलसँग दुई घण्टा वार्ता गरेपछि उनको प्रोफाइल लेखेको थिएँ, ११ वर्षअघि मंसिरको अन्तिम साता, ‘कोसेली’ मा ‘अविरल विकल’ शीर्षकमा । प्रोफाइल छापिएको एक साता पनि नबित्दै विकलको निधनको खबर सुनेपछि म स्तब्ध भएको थिएँ ।
११ वर्षअघि उनले बोलेका शब्दहरू मेरो कानमा अझै गुन्जिरहन्छन्, ‘आज मलाई अन्त जानु छ । अर्को दिन मौका पारेर आउनुहोस् न ! दिनभरि गफ गरौंला ।’
दोस्रो भेटका लागि फेरि ताकेता गरें । ‘आज भ्याउँदिनँ, अर्को दिन है,’ भन्ने जवाफ पाएपछि उनीसँग सोध्नुपर्ने केही प्रश्न तयार पारें । एउटा खाममा हालेर उनका छोरा विजय चालिसे (त्यतिबेला गोरखापत्र संस्थानमै कार्यरत हुनुहुन्थ्यो) को हातमा थमाएँ । मेरा प्रश्नको जवाफ उनले पठाए– कतै केरिएका, कतै मेटिएका, कतै थपिएका अक्षरमा । पक्कै थरथर काँपेका कमजोर हातले लेखेका हुन् ती अक्षर ।
अक्षर पाएको केही दिनमै सुनें– उनी अस्पताल भर्ना भए । ०६५, पुस २ गते उनको निधन भयो, नेपाल मेडिकल कलेज–शिक्षण अस्पतालमा ।
उनलाई भावुक प्रश्न गरेको थिएँ, ‘अर्को जुनीमा के बन्ने रहर छ ?’ उनले भनेका थिए, ‘अर्को जुनीको कुनै निश्चित छैन । यो त आत्माको रूपान्तरण मात्र हो । फेरि म रमेश विकल नै भएर कहाँ
जन्मन्छु र ?’
यिनै हुन् मेरो प्रश्नमा उनले पठाएका लिखित जवाफ ।

बाल्यकालमा तपाईंको संगत कोसँग हुन्थ्यो ? बिर्सनै नसकिने प्रमुख घटना बताइदिनुहोला !
मेरो पूरै बाल्यकाल गाउँमै बितेको छ । निम्न वर्ग, किसान, ज्यामी–कामदारकै छोराछोरीसँग । मैले निम्न वर्गका दुःख, पीडा उनीहरूका मनोविज्ञान नजानी नजानी नै यिनैबाट सिकेको हुँ । र, आज मेरा कथाका पात्रमा जुन भावना बोल्छ, त्यो तिनैको प्रभावबाट निःसृत छ ।
बालककालमा धेरै घटना भए जुन बिर्सनै नसकिने छन् । म तपाईंलाई कुन त्यस्तो घटनाबारे सुनाऊँ ? छनोट गर्न कठिन पर्छ । तैपनि एउटा घटना म सुनाउँछु । एकपल्ट म मेरो घरभन्दा पर एउटा कुलोमा माछा मार्न गएँ । खेतका केही हिले माछा मारें । त्यो ल्याएर घरमा पोलेर खान आगोमा हाल्दा ती माछा छट्पटाएको देखेर मलाई ज्यादै ग्लानि भयो । मैले कति पाप गरेछु भन्ने लागेर पश्चात्ताप लाग्यो । र, मैले आफ्नो टाउको भित्तामा ठोक्दै रोएँ । यो आज पनि सम्झिन्छु ।

तपाईंको सम्झना रहेसम्म आरुबारी कस्तो थियो ? घरहरू, खेतहरू कस्ता थिए ?
मेरो बालसम्झनाको आरुबारी माथिल्लो गाउँ र तल्लो गाउँ अर्थात् चालिसे गाउँ र पसलटारमा विभक्त थियो । त्यहाँ समग्रमा गन्तीका घरहरू थिए । ती घरहरू सबै काँचो इँटा र परालका छानाले छाइएका हुन्थे । भुइँतला, मझेरीसम्म गन्दा तीन तलासम्मका हुन्थे ।
घर मालिकको हैसियतचाहिँ त्यही ठूलो र सानो घरको आकारले छुट्याउँथ्यो । प्रायः सबै घर रंगीचंगी माटोले पोतेको हुन्थ्यो । कुनै आधी रातो, आधी सेतो, कुनै पूरै कमेरो र कुनै पहेंलो माटोले पोतेको हुन्थ्यो । तर, घरहरू ज्यादै सीमित थिए ।
औंलामा गन्न सकिने ।

आफूले लेखेमध्ये तपाईंलाई कुन पुस्तक मन पर्छ ?
कुनै आमा–बाबुका धेरै सन्तान छन् भने उनीहरूले कसलाई बढी माया गर्लान् ? सन्तान त सबै एकै हुन् । तर, पनि मन पर्ने कुरामा चाहिँ त्यसैलाई बढी मन पराउँछन्, जसले बढी सन्तोष र सुख दिन्छ । र, पुस्तकमा जुन धेरै पाठकले रुचाउँछन् । त्यसैलाई नै बढी मन पराउँछ लेखकले । किनभने त्यसैले उसलाई बढी सन्तोष र सुख दिन्छ । मेरा केही पुस्तक छन्, जसलाई पाठकहरूले बढी रुचाएका छन् । र, तिनबाट मलाई बढी सन्तोष मिलेको छ । र, आर्थिक लाभ पनि गराएको छ । तिनमा छान्नुपर्दा म सायद ‘अविरल बग्दछ इन्द्रावती’ लाई छान्छु ।

तपाईंले बनाउनुभएका चित्रहरूको संख्या कति पुग्यो ?
भए होलान् रेखा चित्रहरू र पेन्टिङ चित्र गरेर लगभग सय, सवा सय । तर, यकिन भन्न सक्दिनँ । किनभने गनेको छैन । गन्ने बानी पनि छैन ।

क–कसका चित्रहरू बनाउनुभएको छ ? त्यसमध्ये तपाईंलाई मन परेको कुन हो ?
बनाएको छु, देवकोटा, सम, लेखनाथ, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र आदिका । लियो टाल्सटाय, गोर्की, दिग्गज दिग्गज साहित्यिक हस्ती आदिका । संगीतका हस्ती अनि वल्लभमणिजस्ता भाषासेवी र अरू विज्ञान जगत्का आइन्सटाइनजस्ता केही अन्तर्राष्ट्रिय महापुरुषहरू अनि आफ्नै परिवारका आमा, हजुरबा, श्रीमतीहरूका पेन्टिङ बनाएको छु । यस्तै, यस्तै ।

वर्षमा किताबहरूको रोयल्टी कति पाउनुहुन्छ ?
हिसाब गर्ने बानी छैन । कसैले दिन्छन्, कति दिन्छन्, दिन्छन्, दिँदैनन् त्यसको लेखोजोखा राख्ने बानी छैन । खासगरी मेरा मुख्य प्रकाशकहरू प्रज्ञा प्रतिष्ठान, साझा र एकाध अरू प्रकाशन हुन् । तिनले त अवश्य ठग्दैनन् होला भनेर विश्वासमै चलेको छु ।
मासिक, साप्ताहिक, पत्रपत्रिकामा धेरैले सित्तैँमा लेख लिन्छन् । तर, गोरखापत्र, कान्तिपुरजस्ता केही पत्रिकाले पारिश्रमिक दिन्छन् । त कतिले त सोध्नु न पुछ्नु पाठ्यपुस्तकमा हालेर एक पैसा पनि नदिई सम्पादन गरेर सम्पादक आफैँले रोयल्टी लिन्छन् । जस्तो प्याब्सन भन्ने ठूलो निजी शैक्षिक प्रतिष्ठानले एक–दुई वर्षदेखि पाठ्यक्रममा हाम्रा कृतिहरू राखेर व्यापार पनि चलाएका छन् । हामीलाई एक पैसा पनि दिँदैनन् । दिएका छैनन् ।

जीवनमा के पाएँ/के गुमाएँजस्तो लाग्छ ?
जीवनमा के कति गुमाइयो, त्यसको लेखा छैन । धेरै गुमाइएकै छ । तर, पाउनचाहिँ तपाईंहरूजस्ता पाठकको माया पाइएको छ । त्यो कम उपलब्धि हो र !

जीवन जिउन कुन–कुन कुराको आवश्यकता पर्छ ?
जीवन जिउन सर्वप्रथम त अर्थकै जरुरत पर्छ । अनि अरू धेरै कुराको जरुरत पर्छ । परिवारको, समाजको, ज्ञानको, प्रेमको, माया–ममताको, साथी–भाइको के मात्र भनौं ? सृष्टिमा भएका प्रायः सबै कुराको आवश्यकता पर्छ । शिक्षा, स्वास्थ्य, मनोरञ्जन सबै कुरा आवश्यकता नपर्ने कुरै कुनै छैन । तर, घटी र बढीको मात्र फरक हो । कसैले कुनै कुरालाई बढी आवश्यकता ठान्छ, कसैले कुनै ।
तर, यथार्थमा हेर्दा जोसँग जुन कुराको अभाव छ, त्यसैले त्यसै कुराको बढी आवश्यकता अनुभव गर्छ । धन नहुनेले धनको, सन्तान नहुनेले सन्तानको, विद्या नहुनेले विद्याको त्यस्तै । तर, जीवनमा सबैभन्दा बढी र सबैलाई समान रूपले आवश्यकता पर्ने कुरा सुस्वास्थ्य हो । त्यो छैन भने केही पनि हुन्न । न धन, न जन, न विद्या ।

साहित्य सिर्जना गर्न के कुराको आवश्यकता पर्छ ?
सबैभन्दा पहिलो कुरा त प्रतिभा हो । भावना हो । तर, भावना भएर पनि त्यसलाई अभिव्यक्त गर्ने कला हो । र, प्रतिभालाई उपलब्धिमूलक बनाउन साधना र सीप चाहिन्छ— भावना, साधना, माया, शैली, वस्तुको ज्ञान छनोट शक्ति आदि आदि ।

अर्को जुनीमा के बन्ने रहर छ ?
अर्को जुनीको कुनै निश्चित छैन । यो त आत्माको रूपान्तरण मात्र हो । फेरि म रमेश विकल नै भएर कहाँ जन्मन्छु र ? भोलिको म के बन्छु भन्ने भोलि नै निर्दिष्ट हुन्छ । पुनर्जन्म म मान्छु । तर, जसरी परम्परावादीले मान्छन्, त्यसरी होइन । दलाई लामासम्बन्धी धारणाजस्तो । म त्यसलाई माटाका घैंटोका रूपमा मान्छु । अर्थात् मानिसको शरीर माटाको घैंटो मान्नोस् । एउटा घैंटो फुटेपछि त्यसको त्यही रूपमा जन्म हुँदैन ।

जीवनमा कुन कुराको बढी माया लाग्दो रहेछ ?
जीवनमा बढी त मान्छेले आफ्नै माया गर्छ । संसारमा आफ्ना सन्तानको सबैभन्दा बढी माया गर्ने जननीले पनि मौकामा पहिले आफ्नै माया गर्छिन् । अनि त्यसपछि आएर श्रीमान्ले श्रीमतीको र श्रीमतीले श्रीमान्को (त्यसमा पनि अपबाद त छँदै छ) । अनि पछि मात्र तपसिलका मानिसहरूको माया गरिन्छ ।

संसार छाड्नुअघि कुन काम गरेर जान पाए हुन्थ्योजस्तो लाग्छ ?
म एउटा साहित्यकार हुँ । खासमा त मेरो आफ्नै काम (साहित्य) साधना गर्दागर्दै जान पाए हुन्थ्योजस्तो लाग्छ । तर, म एउटा मानिस पनि हुँ । मलाई आफ्नो देश र आफ्नो समाजको अति माया लाग्छ । त्यही देश र समाजको उन्नति, प्रगति हुने र कल्याण हुने कार्य गरेर जान पाए हुन्थ्योजस्तो लाग्छ ।

साहित्यलाई पेसा बनाउन खोज्नेलाई हजुरका सुझाव के–के छन् ?
साहित्य पेसा त हुँदै होइन । त्यो सेवा हो, साधना हो । तर, पनि त्यसले आफ्नो साधना, सेवा गरेबापत साधकलाई लाभ नै गराउँछ । त्यो आफ्नो ठाउँमा छ । तर, साहित्य साधनालाई कसैले केवल लाभैको मात्र पेसा तुल्याउने सोच्छ र त्यही उद्देश्य राखेर साहित्य लेख्छ भने उसलाई म सल्लाह दिन्छु— उसले भ्रष्टाचार, तस्करी गर्दा बढी लाभ पाउँछ । त्यसैले साहित्य साधना गर्न छाडेर ऊ त्यतै लागोस् ।

तपाईंलाई मन पर्ने लेखक र पुस्तकका नामहरू बताइदिनुहोस् न !
मलाई मन नपर्ने लेखक त धेरै कम छन् । कसलाई छानौं ? कसको नाम लिऊँ ? तर, पनि मलाई बढी नै मन पर्ने देशी–विदेशी लेखक साहित्यकारहरूको नाम लिनुपर्दा केहीको त लिन करै लाग्छ । तिनमा महाकवि देवकोटा त निर्विवाद नै भए । उनका अतिरिक्त दौलतविक्रम विष्ट, गोविन्दबहादुर मल्ल, भूपि शेरचन, ध.च. गोतामे आदि । विदेशीमा म्याक्सिम गोर्की, टाल्सटाय, दोस्तोयबस्की, वाल्जाक आदि नै छनोटमा पर्छन् ।

कोसेली

दण्ड–१

- नारायण ढकाल

साह्रै सकसमा छिन् पहाडमा हजुरआमा
दुःख उनको जीवनी बनेको छ

असहृय छ गाउादेखि बेंसीसम्मको यात्रा
असहृय छ बेंसीदेखि गाउासम्मको गन्तव्य
ओर्लंदा फतक्कै गल्छन् पिडौंला
त्यत्तिकै कष्ट हुन्छ उक्लँन त्यो
राक्षसजस्तो निष्ठुरी पहाड
तर पनि–
छिचोल्नु छ एकबारको जुनी
पुग्नु छ कामनाको खेत
काट्नु छ अस्तित्वको बाली
र डट्नु छ समयसित

कहिल्यै प्रिय भएन
बर्खाको मूलझैं शरीरमा उम्रिने पसिना
कहिल्यै सुखद भएन
चौतारीमा सुस्ताउादा चलेको सिरसिर बतास
सायद फोक्सो निस्कन्छ कि बाहिर !
सायद मुटु फुट्छ कि भित्र !

जीवन र मृत्युको आतंक मडारिरहेको
यो अन्यायको प्रदेश हो
जहाा अभिशप्त छ बूढी हजुरआमाको नियति
उकालोमा घामले पोल्छ
ओरालोमा बतासले हान्छ
छाप्रोमा चिसोले टोक्छ
र जीवन सधैं स्वर्गको फलझैं मुस्किल हुन्छ

हजुरबा खसेपछि एक्ली भइन् हजुरआमा
र देश उनको निम्ति शत्रु भयो
लाठे भइसकेका छोरानातिहरु काम
खोज्दै कतै गए
युवती बनिसकेका छोरीनातिनीहरुले डााडा काटे
बुहारीहरु आफ्ना पिउसा बोकेर
सहरतिर झरे
अनि यी बूढी आइमाईको जिउनु तातो नरक भयो

लौन कवि !
यो नाथे ढुंगैढुंगाको रुखो राजमा
बेकारको दण्ड भोगिरहेकी छन्
हजुरआमा ।


दण्ड–२

कस्तो सिगसिग लाग्ने ठाउा ?
कस्तो दिगमिग लाग्ने गाउा ?

सायद यो शौचालय हो कुनै विपन्न देशको
सायद यो रछ्यान हो कुनै फोहोर बस्तीको

आलो मानव मलमूत्र र दुर्गन्ध
कुहिएको लास र झिँगाहरुको भुनभुन
दिगमिग— दिगमिग
सिगसिग— सिगसिग

सधैंसधैं सपनामा
म तिम्रो यही प्रदेशमा पुग्छु
र तिमीले दिएको गैरकानुनी दण्ड भोग्न विवश हुन्छु ।