You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

किन चर्किंदैछ भारतमा आन्दोलन ?

- सुरेश न्यौपाने

(नयाँदिल्ली) - नागरिकता संशोधन कानुनको विरोधमा दुई सातादेखि भारतभरि प्रदर्शन भइरहेको छ । पूर्वोत्तर भारतको असम र त्रिपुराबाट सुरु भएको उक्त आन्दोलन अहिले देशव्यापी बनेको छ, जसक्रममा एक दर्जनको ज्यान गइसकेको छ । शुक्रबार मात्र ६ जना मारिएका छन् । यसबीच
पक्राउ पर्नेको संख्या हजारौं पुगेको छ । सरकारले प्रदर्शनलाई निस्तेज पार्न निषेधाज्ञा लागू गर्नेदेखि मोबाइल, इन्टरनेट सेवा बन्द गर्नेसम्मका रणनीति अपनाउँदै आएको छ । तर, आन्दोलन मत्थर हुनुको साटो चर्किंदै गएको देखिन्छ । सुरुमा निश्चित समुदाय
र भेगका मानिसहरूले आन्दोलन थालेकामा केही दिनयता विद्यार्थी, राजनीतिज्ञ, कलाकार, अधिकारकर्मी र आम मानिसको समेत त्यसमा उल्लेख्य उपस्थिति देखिँदै छ । यस्तो किन भइरहेको छ ? प्रस्तुत छ, ॅकान्तिपुर एक्सप्लेनर’ :

नयाँदिल्लीमा शुक्रबार प्रदर्शनका सहभागी ।

रतमा अहिले आन्दोलन चर्किनुको मूल कारण के हो ?
यो आन्दोलनको मूल कारण तीन साताअघि भारतीय संसद्का दुवै सदनहरू– लोकसभा र राज्यसभाले पारित गरेको विवादास्पद नागरिकता संशोधन कानुन हो । यसअघि असममा लागू गरिएको राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) ले निम्त्याएको विवाद यसको आरम्भविन्दु थियो ।
नागरिकता संशोधन कानुनमा के छ ? त्यसको कुन बुँदालाई लिएर बढी विवाद भइरहेको हो ?
भारतको संशोधित नागरिकता कानुनले धर्मका आधारमा नागरिकता दिने नयाँ व्यवस्था गरेको छ । पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट प्रताडना खेपेर ३१ डिसेम्बर २०१४ भित्र भारतमा शरण लिन आएका हिन्दु, फारसी, जैन, शिख, बौद्ध र इसाई धर्मावलम्बीलाई त्यसरी नागरिकता दिने प्रावधान छ । तर, मुसलमानहरूले भने त्यो सुविधा पाउने छैनन् ।
नागरिकता ऐनको यो प्रावधानप्रति दुइटा पक्षबाट विरोध भइरहेको छ । पहिलो, असम, त्रिपुरालगायत पूर्वोत्तर भारतका बासिन्दाको आक्रोश बंगलादेशबाट आएका सबै हिन्दु शरणार्थीहरूले नागरिकता पाउने प्रावधानसँग सम्बन्धित छ । उनीहरूमा बंगलादेशीहरूको प्रवेशले आफ्नो रोजगारी, संस्कृति र पहिचान मात्र नभएर राजनीतिक हैसियतमाथि समेत प्रहार हुने चिन्ता रहेको पाइन्छ ।
दोस्रो, पछिल्ला दिनमा आन्दोलन देशव्यापी हुँदै जानुका पछाडि मुसलमान समुदायमाथि गरिएको भेदभाव हो । कानुन नै ल्याएर उनीहरूप्रति गरिएको विभेदले मानिसहरूमा ठूलो आक्रोश जन्माएको छ । भारतमा २० करोडभन्दा बढी मुसलमान बस्छन् । उनीहरूविरुद्ध लक्ष्य गरेर ल्याइएको कानुनले भारतीय संविधानको मूल भावनामाथि नै प्रहार गरेको भन्दै विद्यार्थी, नागरिक समाज, कलाकार, लेखक तथा साहित्यकारहरू विरोधमा उत्रिएका हुन् ।
भारतको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता सन्जय हेगडेले मुसलमान मात्र नभएर भारतलाई धार्मिक रूपमा निरपेक्ष चाहने सबै वर्ग आन्दोलित भएको टिप्पणी गरे । ‘अहिले पो मुसलमानलाई विभेद गरेर कानुन ल्याइएको छ । यो नजिरले भोलि अन्य जाति र समुदायलाई पनि लक्ष्य गरेर सरकारले कानुन ल्याउन सक्छ भन्ने देखाएको छ,’ विश्लेषक हेगडेले कान्तिपुरसित भने, ‘त्यसैले अहिले समाजका सबै वर्ग विरोधमा उत्रिएका हुन् ।’
यस्तो कानुन किन ल्याइएको हो ? भारत सरकार के भन्छ ?
नरेन्द्र मोदी नेतृत्वको सरकारले नागरिकता संशोधन ऐन कसैको भारतीय पहिचान छिन्न नभएर दिलाउन ल्याएको दाबी गर्दै आएको छ । गृहमन्त्री अमित शाहले पछिल्ला दिनमा दिएका प्रायः सार्वजनिक अभिव्यक्तिहरूमा त्यस्तो दाबी दोहोर्‍याउँदै आएका छन् । पछिल्लो ऐनको कार्यान्वयनले भारतमा अवैध रूपमा बस्दै आएका विदेशीको पहिचान गर्ने, त्यसपछि लागू गरिने एनआरसीले भारतका खास नागरिकको विस्तृत अभिलेख राख्ने र यो देशको सुरक्षा व्यवस्थाका लागि अत्यावश्यक भएको सरकारको तर्क छ । भारतीय जनता पार्टी (भाजपा) ले गत अप्रिल–मे महिनामा सम्पन्न चुनावको घोषणापत्रमै नागरिकता संशोधन कानुन ल्याउने प्रतिबद्धता जनाएको थियो ।

आन्दोलनकारीहरूको माग के हो ?
आन्दोलनकारीहरूले नागरिकता कानुन विभेदकारी भएको भन्दै त्यसलाई फिर्ता गर्नुपर्ने माग राखेका छन् । साथै एनआरसी देशव्यापी रूपमा लागू गर्न नहुने पनि उनीहरूको माग छ । उनीहरूले पछिल्लो कानुनले संविधानको भावनाको उल्लंघन गरेको र यदि यो कार्यान्वयनमा आएको खण्डमा भारतीय लोकतन्त्रको बहुलवादी र समावेशी चरित्रमाथि ठूलो प्रहार हुने तर्क गरेका छन् ।
भारतको मुस्लिम समुदाय यसबाट किन त्रसित छ ?
त्यसको प्रमुख कारण भनेको भाजपा नेतृत्वको सरकारले केही वर्षयता लिएका निर्णय र चालेका कदमहरू हुन् । हिन्दुत्वको नारा लिएर सत्तारोहण भएको मोदी सरकारप्रति मुस्लिम समुदाय सुरुदेखि नै सशंकित थियो । गत ५ अगस्टमा भारतको एकमात्र मुस्लिम बहुल राज्य जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णयले चिन्ता थप बढायो । त्यो निर्णय भएको यतिका महिना बितिसक्दा पनि जम्मु–कश्मीर अझै सामान्य अवस्थामा फर्कन सकेको छैन । त्यहाँका प्रमुख दलका नेताहरू हालसम्म नजरबन्दकै अवस्थामा छन् भने अधिकांश ठाउँमा इन्टरनेट बन्द गरिएको छ ।
कश्मीरपछि आयो, अयोध्याको बाबरी मस्जिद–राम जन्मभूमि विवादमा सर्वोच्च अदालतको निर्णय । सरकारले अदालतलाई समेत प्रभावमा पारेर दशकौंदेखिको विवादमा हिन्दुवादीका पक्षमा फैसला गराएको गुनासो सार्वजनिक रूपमै सुनिँदै आएको छ । मोदी सरकारप्रति यिनै आशंका र गुनासाहरू कायमै रहेका बेला ल्याइएको नागरिकता संशोधन ऐनले मुस्लिम समुदायलाई थप आक्रोशित बनाएको हो ।
तीन तलाकको निर्णयलाई अपराध ठहर गर्ने गरी लागू गरेको कानुनले पनि मुस्लिम समुदाय मोदी सरकारप्रति थप सशंकित बनेको पाइन्छ । सरकारले उक्त कानुन मुस्लिम महिलाहरूको सशक्तीकरणका लागि दाबी गरिरहँदा मुस्लिम समुदायले भने आफूहरूसँग पर्याप्त परामर्श नगरी आफ्नो धार्मिक आस्था र परम्परामाथि प्रहार गरिएको आरोप लगाउँदै आएको छ । त्यसमाथि भाजपा नेता तथा कार्यकर्ताहरूको मुस्लिम समुदायविरोधी अभिव्यक्तिहरूले उनीहरूमा थप त्रासको अवस्था सिर्जना गरेको पाइन्छ । खासगरी प्रज्ञा ठाकुर, गिरिराज सिंह, साक्षी महाराजलगायत भाजपा नेताहरू मुस्लिमविरोधी अभिव्यक्ति दिने मामिलामा अगाडि देखिन्छन् । तर भाजपा नेतृत्वले उनीहरूमाथि कारबाही गरेको पाइँदैन ।
अहिले मुस्लिमबाहेक आमविद्यार्थी, युवालगायत अन्य समुदाय पनि किन सडकमा उत्रेका हुन् ?
सतहमा नागरिकता कानुनको विरोध मुस्लिम समुदायले बढी गरेको देखिए पनि आन्दोलनमा विद्यार्थी र अन्य अल्पसंख्यक समुदायको पनि उल्लेख्य उपस्थिति देखिन्छ । १५ डिसेम्बरका दिन दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालय र उत्तरप्रदेशको अलिगढ विश्वविद्यालयमा नागरिकता ऐनविरुद्ध भएको विद्यार्थीहरूको प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरेर सयौंलाई घाइते बनाएको थियो । त्यसपछि ती विद्यार्थीको समर्थनमा अन्य सहरका विद्यार्थीसमेत विरोधमा उत्रिएका छन् ।
आन्दोलनमा दलितलगायत अन्य अल्पसंख्यक समुदायको पनि बलियो उपस्थिति छ । त्यसको प्रमुख कारण केही वर्षयता दलित समुदायमाथि सार्वजनिक स्थलहरूमा भएका दुर्व्यवहार र त्यसप्रति स्थानीय प्रशासनले देखाएको उदासीनता हो । दिल्लीछेउको ग्रेटर नोयडामा १४ डिसेम्बरमा एक दलित युवकमाथि गरिएको दुर्व्यवहारले पनि धेरै कुरा बताउँछ । वर्षौंदेखि सडकछेउ पसल थापेर बिरयानी बेच्दै आएका उनीमाथि केही हिन्दुवादी संगठनका मानिसले दलित भएर पनि बिरयानी बेच्ने भन्दै हातपात गर्दै पसल ध्वस्त पारिदिएका थिए । दिनहुँजसो हुँदै आएका यस्ता घटनाले दलितलगायत अल्पसंख्यक र पिछडिएका समुदायमा वर्तमान सत्ताप्रति आक्रोश बढाएको छ ।
वरिष्ठ अधिवक्ता तथा विश्लेषक हेगडेले नागरिकता ऐनविरुद्धको आन्दोलन देशव्यापी हुनुका पछाडि केही वर्षयता अल्पसंख्यकमाथि हुँदै आएको विभेद प्रमुख कारण भएको टिप्पणी गरे । ‘भीड लगाएर दलित र मुस्लिममाथि भएको दमन, गाई काटेको भन्दै निर्दोषमाथि अत्याचारका शृंखलाबद्ध घटना हुँदा पनि उनीहरू चुपचाप थिए । अहिले जब उनीहरूको भारतीय पहिचानमाथि नै प्रश्न उठ्न थाल्यो, अनि बल्ल उनीहरू सडकमा आएका हुन्,’ हेगडेले बताए ।
सार्वजनिक व्यक्तित्वहरू के भन्छन् ?
आन्दोलनको समर्थनमा कलाकार, लेखक, साहित्यकार र अधिकारकर्मीहरू पनि उभिएका छन् । लेखक तथा विश्लेषक उर्मिलेशले भारतीय संविधानमा रहेका नागरिकतासम्बन्धी प्रावधानहरूमा यसअघि पनि संशोधनहरू गरिएको, तर यसपालि संविधानको भावनामै प्रहार गरिएकाले जनता आक्रोशित भएको बताए । ‘संविधानले कसैलाई पनि धर्मका आधारमा विभेद गर्ने अधिकार दिएको छैन । जबकि सरकारले नागरिकता संशोधन ऐनमार्फत हाकाहाकी विभेद गरेको छ । यो संविधानमाथिकै प्रहार हो,’ उनले कान्तिपुरसित भने ।
विदेशबाट प्रताडित नागरिक छ भने तिनलाई धर्मका आधारमा छुट्याउने अधिकार कसैलाई नभएको उर्मिलेशको भनाइ छ । ‘सरकारको कदम हिन्दु र मुस्लिमबीचको खाडल गहिरो बनाउने र बहुसंख्यकको समर्थनको आडमा अल्पसंख्यकमाथि शासन गर्ने उद्देश्यले प्रेरित छ,’ उनले थपे । अन्य क्षेत्रका सार्वजनिक व्यक्तित्वसँगै बलिउडका कलाकारहरू पनि विस्तारै आन्दोलनको समर्थनमा उभिन थालेका छन् । बिहीबार नागरिकता ऐनको विरोधमा मुम्बईको अगस्ट क्रान्ति मैदानमा ठूलो संख्यामा कलाकारहरू सहभागी भएका थिए । शवाना आजमी, फरहान अख्तर, स्वारा भाष्कर, दिया मिर्जालगायतले सामाजिक सञ्जालमार्फत प्रदर्शनमा सहभागिताका लागि सार्वजनिक आह्वानसमेत गरेका थिए ।
एनआरसीचाहिँ के हो ?
राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) भारत सरकारले आफ्ना नागरिकहरूको नाम र त्यससँग सम्बन्धित सूचनाहरू अद्यावधिक गर्न ल्याएको एउटा विधि हो । त्यसअनुरूप भारतका हरेक नागरिकले आफू भारतीय नागरिक हो भन्ने कागजात र प्रमाण सरकारी निकायमा पेस गर्नुपर्ने हुन्छ । यसको सुरुवात असम राज्यबाट गरिएको थियो । भारतका गृहमन्त्री शाहले गत २० नोभेम्बरमा भारतीय
संसद्मा बोल्दै यसलाई सम्पूर्ण मुलुकभरि लागू गरिने घोषणा गरेका थिए । त्यसो गरिएको खण्डमा ठूलो संख्यामा मुसलमानहरू अवैध नागरिक ठहरिने र अन्य समुदायले पछिल्लो संशोधनबाट सहजै नागरिकता पाउन सक्ने तर आफूहरू भने त्यसबाट वञ्चित हुने मुस्लिम समुदायको भय छ ।
एनआरसी किन असम राज्यबाट सुरु गरियो ?
एनआरसीको प्रारम्भिक विन्दु सन् १९४७ को भारत–पाकिस्तान विभाजनलाई मानिन्छ । त्यतिबेला भारतबाट छुट्टिएर बनेको पूर्वी पाकिस्तानका धेरै मानिस असममा गएर बसे । चिया बगानका कारण असम रोजगारीको राम्रो गन्तव्य थियो । त्यहाँ प्रवासी बढ्दै गएपछि स्थानीयमा आफ्नो संस्कृति र भाषामाथि अतिक्रमण भएको भन्दै असन्तुष्टि बढ्न थाल्यो । यसले गर्दा रैथाने असमिया र प्रवासीबीच विवाद बढ्दै गएपछि केन्द्र सरकारले पहिलो पटक १९५१ मा एनआरसीको आधार तयार पार्‍यो । सन् १९७१ को बंगलादेश युद्धका बेला त झन्डै १० लाख बंगालीहरू असम छिरेर बसे । त्यसले स्थानीय तीव्र रूपमा असन्तुष्ट भए । अल असम स्टुडेन्ट युनियन (आसु) र अल असम गण संग्राम परिषद्को नेतृत्वमा आन्दोलन सुरु भयो । उनीहरूको माग गैर–असमियालाई पहिचान गरेर मतदाता सूचीबाट हटाउनुपर्ने र राज्यको सिमानामा कडाइ गर्नुपर्ने भन्ने थियो ।
सन् ८० को दशकमा त्यो आन्दोलन उत्कर्षमा पुग्यो । करिब ८०० आन्दोलनकारीको ज्यान गयो भने १९८३ मा नेल्ली जिल्लामा भएको साम्प्रदायिक हिंसामा २ हजारभन्दा बढी मारिए । त्यसपछि आन्दोलनकारी र केन्द्र सरकारबीच एनआरसीलाई लिएर वार्ता सुरु भयो । वार्ताकै क्रममा तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले १५ अगस्ट १९८५ मा असम सम्झौताको घोषणा गरे । जसअनुसार २५ मार्च १९७१ पछि असममा बस्दै आएका गैरभारतीयलाई विदेशी मान्ने र आफ्नो देश फर्काउने, १९५१ देखि १९६१ बीच आएकालाई नागरिकता र मताधिकार दुवै दिने, १९६१ र १९७१ बीच आएकालाई नागरिकता मात्र दिने तथा १९६६ र १९७१ बीच आएकाहरूको नाम मतदाता सूचीबाट हटाउने सहमति भयो । उक्त घोषणाअनुसार असममा बस्दै आएको कुनै पनि व्यक्तिले आफू र आफ्ना पूर्वजहरू यदि २४ मार्च १९७१ अघि भारत आएको आवश्यक प्रमाण पेस गर्न सक्दैन भने ऊ विदेशी ठहरिनेछ । तर एनआरसीको यो प्रावधानले केन्द्रीय राजनीतिको अस्थिरताका कारण प्राथमिकता पाएन ।
अहिले एनआरसी चर्चामा आउनुको कारण के हो ?
सन् २००९ मा असम पब्लिक वर्क्स नामको एनजीओले अवैध प्रवासीलाई मतदाता सूचीबाट हटाउन माग राख्दै सर्वोच्चमा रिट दायर गरेको थियो । त्यससँगै एनआरसीले पहिलो पटक अदालतमा प्रवेश पायो । त्यसअनुसार सर्वोच्चले २०१३ मा एनआरसी अद्यावधिक गर्ने संयन्त्र र कार्यविधि तयार पार्न आदेश दियो भने २०१४ मा अद्यावधिक प्रक्रिया थाल्न आदेश दियो । अदालतको आदेशसँगै एनआरसीको पहिलो अद्यावधिक सूची ३१ डिसेम्बर २०१८ मा प्रकाशित गरिएको थियो । त्यसपछि सूचीबाट बाहिर परेकालाई आवश्यक कागजात पेस गर्न ३१ अगस्ट २०१९ मा अन्तिम सूची प्रकाशित गरियो । जसअनुसार असमका करिब २० लाख बासिन्दाहरू एनआरसी सूचीमा अटाउन सकेका छैनन् । तीमध्ये करिब सवा लाख नेपाली मूलका मानिसहरू रहेको बताइन्छ ।
नेपालीभाषीको यससँग जोडिएको चासो के हो ?
गृहमन्त्री शाहले नेपालीभाषीलाई पछिल्लो कानुनले कुनै असर नपार्ने बताएका छन् । तर, असममा मात्र करिब सवा लाख नेपालीभाषी एनआरसी सूचीबाट छुटेकाले यदि भारतभर त्यो लागू भएको खण्डमा आफूहरू समस्यामा पर्न सक्ने उनीहरूको चिन्ता छ । यो चिन्ता सबभन्दा बढी पूर्वोत्तर भारतमा देखिन्छ, जहाँ नेपालीभाषीको बहुसंख्यक उपस्थिति छ ।
उनीहरूको पहिलो चिन्ता, नयाँ नागरिकता ऐनले बंगलादेशबाट ठूलो संख्यामा शरणार्थीले भारतमा स्थायी बसोबासको सुविधा पाउने र उनीहरूको प्राथमिकता पूर्वोत्तर भारत हुने भएकाले आफूहरूको रोजगारी प्रभावित हुन्छ भन्ने छ । दोस्रो, विदेशी शरणार्थीले ठूलो संख्यामा नागरिकता पाएको खण्डमा पूर्वोत्तर भारतका मूलवासी बाहिरियाविरुद्ध खनिने सम्भावना रहेको र त्यो कालान्तरमा नेपालीभाषीतर्फ लक्षित हुन सक्ने उनीहरूको चिन्ता छ । त्यही भएर सिक्किम र दार्जिलिङका नेपालीभाषीले मेघालय, मणिपुरलगायत राज्यमा तोकिएजस्तै विशेष क्षेत्र घोषणा गर्नुपर्ने माग राखेका छन् । पछिल्लो ऐनले त्यस्ता विशेष क्षेत्रमा नागरिकताको पछिल्लो प्रावधान लागू नहुने व्यवस्था गरेको छ ।

 

मुख्य पृष्ठ

संसद्मा नयाँ नजिर

उपसभामुखबाट अध्यक्षता
- कान्तिपुर संवाददाता

(काठमाडौं) - सभामुख नभएकाले प्रतिनिधिसभा बैठक प्रारम्भ कसले गर्ने भन्ने केही दिनयताको बहसलाई चिर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले शुक्रबार बैठक चलाएकी छन् । सांसदहरू आफैंले बनाएको नियमावलीविपरीत संवैधानिक प्रावधानलाई आधार मानेर तुम्बाहाङ्फेको अध्यक्षतामा संसद्को पाँचौं अधिवेशनको बैठक प्रारम्भ भएको हो ।
प्रतिनिधिसभा नियमावलीमा सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगन घोषणा गर्ने व्यवस्था छ । संसद्का पूर्वमहासचिव सूर्यकिरण गुरुङले संसदीय अभ्यासमा उपसभामुखले बैठक प्रारम्भ गरेको यो पहिलो पटक भएको बताए । उनी ०४९ देखि ०६४ सम्म संसद्मा कार्यरत थिए । ‘०४८ सालयताको संसदीय अभ्यासमा मैले
सम्झेसम्म संसद् अधिवेशनको प्रारम्भ र अन्त्य सभामुखबाटै हुँदै आएको थियो । संसदीय अभ्यासमा प्रचलनको पनि महत्त्व हुन्छ । त्यो एउटा नजिर पनि हो,’ उनले भने, ‘अहिले सभामुख नभएको र उपसभामुख रहेको फरक स्थिति देखिन्छ । उपसभामुख हुँदाहुँदै ज्येष्ठ सदस्य खोज्ने कुरा पनि भएन ।’
तत्कालीन सभामुख कृष्णबहादुर महरा फौजदारी अभियोगमा थुनामा छन् । यौन दुर्व्यवहार आरोप लागेलगत्तै असोज १४ मा उनले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । प्रतिनिधिसभा नियमावलीमा सभामुखलाई एकाधिकार दिइएको छ । राष्ट्रिय सभा नियमावलीमा संशोधन गरेर अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले पनि बैठकको प्रारम्भ वा स्थगन गर्न सक्ने व्यवस्था राखिएको छ ।
पहिलो बैठक सामान्य औपचारिकता पूरा गरेर स्थगन भएको छ । राष्ट्रपति कार्यालयबाट आएको संसद् अधिवेशनको प्रारम्भसम्बन्धी पत्र सुनाएर, पछिल्लो पटक मन्त्रिपरिषद्मा भएको हेरफेरको जानकारी गराएर र चारजना पूर्वसांसद हरि बैरागी दाहाल, कमलाकुमारी घिमिरे, रामलखन महतोको निधनमा शोक प्रस्ताव गरेर बैठक सकिएको थियो । अर्को बैठक पुस ११ गते बोलाइएको छ । दलहरूबीच त्यही बैठकबाट सभामुख निर्वाचनसम्बन्धी कार्यसूची ल्याउने सहमति बनेको छ । प्रतिनिधिसभाको सचिवालयले आगामी बैठकको कार्यसूची सभामुख निर्वाचनकै हुने जनाएको छ । संसद्का पूर्वमहासचिव गुरुङले संसद्को पहिलो बैठकमै सभामुख चयनको एजेन्डामा प्रवेश नगराएर दलहरू चुकेको बताए । ‘पहिलो बैठक बसिसकेपछि बैठकको एजेन्डा नै सभामुख निर्वाचनको हुनुपर्थ्यो,’ उनले भने ।
प्रतिनिधिसभा बैठक सञ्चालनपूर्व उपसभामुख तुम्बाहाङ्फेकै अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । त्यही बैठकले पहिलो दिनको बैठकको कार्यसूची तय गर्नुका साथै आगामी बैठकको मिति टुंग्याएको थियो । प्रतिनिधिसभा नियमावलीमा सभामुखको अध्यक्षतामा मात्र कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रावधान छ । तर उपसभामुख आफैं सभामुखसरह भूमिका अभ्यास गर्न अग्रसर भएपछि उनको दल सत्तारूढ नेकपाले साथ दियो । प्रतिपक्षी कांग्रेसले पनि त्यसलाई सहज रूपमै लिएको छ । संसद् सचिवालयले संविधानको धारा ९१ का उपधारा ४ र ५ मा भएको व्यवस्थाअनुसार उपसभामुखले प्रतिनिधिसभा बैठक प्रारम्भ गरेको जनाएको छ । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संविधानमा सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठकको अध्यक्षता गर्ने भनेकाले उपसभामुखले बैठक प्रारम्भ गर्नु स्वाभाविक भएको बताए ।
संविधानले सभामुखको अनुपस्थितिमा उपसभामुखले सभाको अध्यक्षता गर्ने तथा सभामुख र उपसभामुख दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने भनेको छ । कार्यव्यवस्थाको बैठक बस्नुपूर्व दलका नेताहरूबीच भएको अनौपचारिक बैठक संविधानको व्यवस्थाअनुसार उपसभामुखले बैठक प्रारम्भ गर्न सक्ने निष्कर्षमा पुगेको थियो ।
प्रतिपक्षी कांग्रेसकी सचेतक पुष्पा भुसालले नियमावलीमा नभए पनि संविधानको व्यवस्थाले सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने प्रस्ट भनेकाले त्यसैअनुसार सहमति जनाइएको बताइन् । उनका अनुसार सिंगो सदनको बैठककै अध्यक्षता गर्ने भएपछि कार्यव्यवस्थाको अध्यक्षता पनि उपसभामुखले गर्दा फरक पर्दैन भन्ने निष्कर्षमा दलहरू पुगेका थिए ।

राष्ट्रिय सभाको पहिलो दिनको बैठकमा सत्तारूढ नेकपाका नेता दीनानाथ शर्माले सरकारले दुई वर्ष पूरा गर्न लागेका बेला आर्थिक समृद्धितर्फको यात्रा क्रमशः अगाडि बढिरहेको दाबी गरेका थिए । उनले सरकारले गरेका केही
उपलब्धि सुनाए ।
प्रतिपक्षी कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले भने सरकारले भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाए । उनले भ्रष्टाचारमा शून्य सहनशीलता नभई सुन्ने सफलतातर्फ सरकार उन्मुख रहेको बताए । ‘सुन्दा पनि लाज लाग्ने गरी एकपछि अर्को भ्रष्टाचारका विषय सार्वजनिक भइरहेका छन्,’ उनले भने, ‘जनतामा निराशा र वितृष्णा बढ्दै गएको छ ।’ पाण्डेले नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा राखेको विषयमा बोल्न सरकारले खुट्टा कमाएको आरोप लगाए ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता अनुमोदनका लागि संसद्मा अगाडि नबढाइएको विषयमा पनि उनले आलोचना गरे । उनले भारतीय नक्सामा नेपाली भूमि पारिएको र एमसीसीको विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे । उनले नेपाल विशेष सेवा गठनसहित केही विधेयक संविधानको भावनाविपरीत आउन लागेको भन्दै आपत्ति जनाए । ‘चुनावबाट सरकार मात्रै बदलिएको हो, व्यवस्था बदलिएको छैन,’ उनले भने, ‘तर कम्युनिस्ट व्यवस्थाको झलक दिने कानुनहरू ल्याउन खोजिएको छ ।’

Page 2
समाचार

प्रदर्शनमा थप ६ जनाको मृत्यु

- सुरेशराज न्यौपाने
भारत सरकारले आफ्ना नागरिकमाथि गरेको दमनको विरोधमा शुक्रबार काठमाडौंमा एमनेस्टी इन्टरनेसनलले गरेको प्रदर्शन । तस्बिर ः कबिन अधिकारी/कान्तिपुर

(नयाँदिल्ली) - विवादित नागरिकता संशोधन ऐनको विरोधमा शुक्रबार भएको प्रदर्शनमा थप ६ जनाको मृत्यु भएको छ । सयौं प्रदर्शनकारी र कैयन् प्रहरी घाइते भएका छन् । उत्तरप्रदेशको कानपुरलगायतका विभिन्न ठाउँमा भएको हिंसात्मक प्रदर्शनमा ६ जनाले ज्यान गुमाएका हुन् । दुई सातायता सुरु भएको प्रदर्शनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
शुक्रबार राजधानीलगायतका प्रमुख सबैजसो सहरमा प्रदर्शन भएको थियो । उत्तरप्रदेशको कानपुर, लखनऊ, बुलन्दसहर, मुजर्फरनगरमा हिंसात्मक प्रदर्शन भए । त्यसैगरी मध्यप्रदेश र दिल्लीका विभिन्न स्थानमा पनि ठूलो संख्यामा आन्दोलनकारी सडकमा उत्रिए । दिल्लीको सदरबजार, जामे मस्जिद, नबी करिम, दरियागन्ज, सिलमपुर, सिमापुरी, नन्द नगरी र दिल्ली गेट क्षेत्रमा ठूलो प्रदर्शन भएको थियो । दरियागन्जमा प्रदर्शनलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहरा प्रयोग गरेको थियो । त्यसपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा थुप्रै घाइते भएका छन् । दर्जनौं सवारीसाधनमाथि क्षति पुगेको छ । प्रहरीले बिहीबारको प्रदर्शनअघि नै दिल्लीका विभिन्न भागमा निषेधाज्ञा लागू गरेको थियो, जसले गर्दा चार वा त्यसभन्दा बढी मानिस भेला हुन पाइँदैन । शुक्रबार पनि प्रदर्शनका कारण १३ वटा मेट्रो स्टेसन बन्द गरिएको थियो ।
मुस्लिमको प्रार्थना गर्ने दिन पनि भएकाले शुक्रबार ठूलो प्रदर्शन हुने अनुमानै गरिएको थियो । दिल्लीस्थित जामे मस्जिदमा प्रार्थना गर्न आएकाहरू पछि प्रदर्शनमा सहभागी भएपछि दिल्ली प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । नागरिकता संशोधन कानुनको विरोध गरिरहेका भीम आर्मीका प्रमुख चन्द्रशेखर आजाद आफैं प्रदर्शनमा सहभागी भएका थिए । सुरुमा आजादलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनी उम्कन सफल भएका थिए । त्यसपछि मस्जिद परिसरमै उनले प्रदर्शन गरेका थिए ।
हिंसात्मक प्रदर्शनपछि मध्यप्रदेशको जबलपुरका केही भागमा कर्फ्यु लगाइएको छ ।
प्रदर्शनमा प्रहरीले धरपकड गरेकामा विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले मोदी सरकारको चर्को आलोचना गरेको छ । पार्टी प्रमुख सोनिया गान्धीले विज्ञप्ति जारी गर्दै लोकतन्त्रमा सरकारले लिएका नीतिको विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार जनतालाई भएको तर भाजपा सरकारले जनताको आवाज दबाउन भयानक बल प्रयोग गरेको आरोप लगाएकी छन् ।
नागरिकता संशोधन ऐनको विरोधमा प्रदर्शन चर्किंदै गएपछि मोदी सरकारले नागरिकता ऐनका सम्बन्धमा केही नरम रवैया लिने संकेत दिएको छ । कानुन लागू भएको खण्डमा स्थिति नियन्त्रणबाहिर जान सक्ने आकलन गर्दै गृह मन्त्रालयले नागरिकता कानुनको मस्यौदामाथि पुनर्विचार गर्ने संकेत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि बिहीबार भारतका गृहराज्यमन्त्री जी किसन रेड्डीले एनआरसी कहिलेदेखि लागू गर्ने तय नभएको र नागरिकता कानुनको पनि कार्याविधि तय भइनसकेको बताएका थिए । भारतीय समाचार एजेन्सी पीटीआईले एक उच्च सरकारी अधिकारीलाई उद्धृत गर्दै १ जुलाई १९८७ भन्दा अघि भारतमा जन्मेका वा त्यसअघि बाबुआमा भारतमा जन्मेका व्यक्ति स्वतः भारतीय नागरिक हुने र उनीहरू नागरिकता संशोधन कानुन र एनआरसीलाई लिएर चिन्तित हुनुनपर्ने जनाएको छ ।

समाचार

धार्मिक नियतले सल्काएको आगो

- मनोज बोगटी

दार्जिलिङ– भारतको लोकसभा र राज्यसभा दुवै सदनबाट नागरिकता संशोधन विधेयक पारित हुनेबित्तिकै भारतका पूर्वोत्तर राज्यहरूमा त्यसको प्रतिवाद सुरु भयो । विधेयकले ऐनको रूप लिँदा–नलिँदै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को नियतविरुद्ध आलोचना चुलियो । अहिले त्यही नागरिकता ऐन र भाजपाको नियतबीचको द्वन्द्व भारतभरि फैलिएको छ ।
यसअघि असममा राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) लागू गर्नुअघि भाजपा सरकारले भनेको थियो– अवैधरूपले बसोबास गर्ने बंगलादेशी (मुस्लिम) अनुप्रवेशकारीलाई देशबाट भगाइनेछ । लागू गरिसकेपछि भाजपाले थाहा पायो, एनआरसीले धेरै संख्यामा हिन्दुहरूलाई नै प्रभावित गर्‍यो । एनआरसीले असममा १९ लाख नागरिकलाई ‘अवैध’ घोषित गरेको छ, जसमा हिन्दुहरूको संख्या धेरै छ । यी नै हिन्दुलगायत केही अल्पसंख्यक धर्मावलम्बीहरू जो भारतमा अवैधरूपले बसेका छन्, भाजपाका दृष्टिमा उनीहरू बंगलादेश, पाकिस्तान र अफगानिस्तानमा इस्लामिक प्रताडनाको सिकार बनेर भारतमा छिरेका शरणार्थर् ीहुन्, जसलाई हालै संशोधित नागरिक ऐनले भारतीय नागरिकता दिनेछ ।
भाजपाले हिन्दुवादी कट्टर मानसिकतालाई अन्तर्यमा राखेर राजनीति गरिरहेको र धार्मिक छुवाछूतलाई प्रश्रय दिइरहेको देखेपछि बौद्धिक जमातले त्यसको विरोध गर्न थालेको थियो । अहिले सरकार उनीहरूमाथि नै आक्रमणमा उत्रेको छ । नागरिकता कानुनको विरोधमा सडक उत्रिएका भारतका बौद्धिक एवं इतिहासकार रामचन्द्र गुहालाई समेत थुन्नुले पनि धरपकडको यो प्रक्रिया जारी छ भन्ने देखाउँछ ।
भारतका बौद्धिकहरूले देश चरम आर्थिक मन्दीमा गुज्रिरहेको र बेरोजगारीले आकाश छोइरहेका बेला अचानक भाजपा सरकार किन नागरिकता कानुन र एनआरसीको पछि लागेको हो ? भन्ने प्रश्न उठाइरहेका छन् । उनीहरूका अनुसार देशको मूल मुद्दा आर्थिक मन्दी र बेरोजगार हुनुपर्ने तर केही राज्यहरूमा आउन लागेको चुनावलाई ध्यानमा राखेर भाजपाले नागरिकता कानुन र एनआरसीलाई राजनीतिक केन्द्रमा राखेको हो ।
नरेन्द्र मोदीको सरकार बारम्बार चपाउने र देखाउने दुवै दाँत बोकेर जनतामा गइरहेको छ । विमुद्रीकरणबाट कालोधन देशमा फर्काएर ल्याउने भाजपाको सपना असफल बनेपछि आर्थिक संकट चुलिएको विमर्श केन्द्रमा छँदै छ । अब फेरि नागरिकता कानुनमार्फत धार्मिक संकट निम्त्याउने मात्र होइन, संविधानलाई नै ताकमा पारेर राजनीति गर्ने नियत अन्तर्यमा राखिएको चर्चा चुलिएको छ । निश्चित रूपमा यसले भारतलाई विध्वंसको बाटोतर्फ लैजाने खतरा छ । यसै पनि नागरिकता कानुनको संशोधनले संविधानको धारा १४ लाई उल्लंघन गरेको छ । जुन धाराले समानताको अधिकार सुरक्षित गरेको छ, त्यही सुरक्षामा आक्रमण गरिएको छ ।
त्यसको प्रभाव असमबाटै देखिन थालेको थियो । नागरिकता संशोधन विधेयक ल्याउनेबित्तिकै भर्खरै एनआरसीले बाहिर पारेका गैरनागरिकलाई नागरिकता प्रदान गर्ने भाजपाको नियत असमले चाल पायो । असमियाहरू ठान्छन्– यो ऐनले भर्खर एनआरसीले बाहिर पारेका गैरमुस्लिमलाई नागरिकता दिनेछ । जसका विरुद्ध उनीहरू लडेका थिए, त्यसैको विरुद्धमा यो ऐन ल्याइएको छ ।
ऐनले भनेको छ– पाकिस्तान, अफगानिस्तान र बंगलादेशका अल्पसंख्यक हिन्दुलगायत इसाई, पारसी, जैन, शिख र बौद्ध धर्मावलम्बीहरू, जो ३१ डिसेम्बर २०१४ सम्ममा भारत आएका छन्, उनीहरूलाई नागरिकता दिइनेछ । यसमा मुस्लिम धर्मावलम्बीबारे भने जानेरै उल्लेख गरिएको छैन ।
भारत सरकार र असमका नेताहरूबीच १५ अगस्त १९८५ मा भएको सम्झौताले भनेको छ– असममा सामाजिक, सांस्कृतिक र भाषिक सुरक्षा दिइनेछ । बंगलादेशबाट आएका लाखौंको संख्यामा मुस्लिम र हिन्दु त्यहाँ बसेका छन्, जसका कारण सामाजिक, सांस्कृतिक र भाषिक रूपमा सुरक्षित नरहेको भन्दै असमबाट नागरिकता विधेयकको विरोध सुरु हुनेबित्तिकै विभिन्न विश्वविद्यालयका विद्यार्थी पनि सडकमा ओर्लिए । अहिले २२ भन्दा धेरै विश्वविद्यालय र १४ भन्दा धेरै राज्यमा यो ऐनको विरोधमा प्रदर्शन चलिरहेको छ । यसमध्ये भाजपाशासित राज्यमा अधिक हिंसा चर्किरहेको छ ।
ऐनलाई विरोध गर्नेहरू भन्छन्– यो ऐन साम्प्रदायिक रूपले ध्रुवीकृत छ । धर्मका आधारमा नागरिकता निर्धारण गर्नु संविधानको अवमूल्यन हो । भारतको संविधानले धार्मिक आधारमा नागरिकतालाई सम्बोधन गर्ने छुट दिएको छैन । भाजपाको नियत ऐन र एनआरसीलाई सँगै राखेर हेर्दा थाहा भइहाल्छ । बौद्धिकहरूले ऐनको विरोध गरेको पनि भाजपाको त्यही नियतमाथि हो । भाजपा नागरिकता संशोधन ऐनको गुलेलीले दुइटा चरा मार्न चाहन्छ । एउटा, देशमा रहेका अवैध मुस्लिमलाई देशबाहिर गर्ने र अर्को, विदेशका हिन्दुहरूलाई देशभित्र छिराउने । यसैभित्र भाजपाको हिन्दुवादी नियत लुकेको छ । यसको सम्बन्ध सोझो रूपले चुनावसित छ । हिन्दु धर्मावलम्बीको मन जित्ने रणनीतिको डोरी मतपेटिकासितै जोडिएको छ । नागरिकता कानुन र एनआरसीको बहानामा खेलिएको राजनीतिक होलीको लक्ष्य आगामी चुनाव रहेको स्पष्टै छ । मौखिक रूपमा भाजपा मन्त्रीहरूले देशका मुस्लिमलाई यो ऐनले प्रभावित नपार्ने बताइरहेका छन्, तर जब नयाँ नागरिकता कानुन लागू हुन्छ, त्यसले न हिन्दु न मुस्लिम सबैलाई उत्तिकै प्रभावित पार्ने पक्का छ किनभने असमका धेरै नागरिक, जो भारतमा नै जन्मेका हुन्, उनीहरूसित एनआरसीमा सावित गर्ने कागजपत्र छैन । भारतका धेरै हिस्साका मानिससित एनआरसीले नागरिकता सावित गर्न माग्ने कागजपत्र नहुन सक्छ । अर्थात्, भारतका अधिकांश नागरिकसित आफूलाई देशको नागरिक प्रमाणित गर्ने कागजपत्र नै छैन ।
ब्रिटिसबाट उम्किएर जब आजको भारत बन्यो, उसले थुप्रै पुराना ऐतिहासिक, भौगोलिक, धार्मिक, सांस्कृतिक, सामाजिक वा सबै प्रकारका समस्या बोकेरै आएको छ । असमका खाँटी नागरिकले आफूलाई भारतको नागरिक प्रमाणित गर्ने कागजपत्र बुझाउन नसक्नु तिनै समस्याका नमुना हुन् ।
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले एनआरसी लागू गर्नुअघि असमका गोर्खालाई प्रभावित नगर्ने मौखिक आश्वासन दिएका थिए तर भयो अर्कै । लाखौं गोर्खा यसबाट प्रभावित बने । अहिले पनि दार्जिलिङका भूमिगत नेता विमल गुरुङले भारतका गोर्खालाई एनआरसीले प्रभावित नपार्ने भाजपा मन्त्रीहरूबाट आश्वासन पाएको बताइरहेका छन् । तर गोर्खाहरूले भाजपा नेताको मौखिक आश्वासनको स्वाद असममा चाखिसकेका छन् ।
गृहमन्त्री शाहले नागरिक संशोधन ऐन मात्र लागू गर्ने भनेको भए भारतमा विरोधको नारा लाग्ने सम्भावना थिएन । सँगसँगै एनआरसी पनि लागू गर्ने भन्नेबित्तिकै भारतमा ‘आगो’ सल्किएको हो । शाहले सदनमा विधेयक मात्र दर्ता गरेनन्, सँगै भाजपीय नियतसमेत राखे । जब देशका सचेत र बौद्धिकले ऐनसितै टाँसिएर आएको त्यो भाजपीय नियत देखे, तब विरोधको स्वर भारतभरि मुखर बनेको हो । त्यो नियत भनेको अन्ततः भारतलाई एउटा धार्मिक राष्ट्र बनाउने नै हो ।

Page 3
समाचार

संविधानविपरीत शिक्षा नीति

‘उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरेको सरकारले संविधानविपरीत शिक्षा नीति ल्याएको छ, स्थानीय सरकारलाई संविधानले दिएको अधिकार पनि खोसिएको छ’
- सुदीप कैनी

(काठमाडौं) - सरकारले संवैधानिक व्यवस्थाविपरीत शिक्षा नीति जारी गरेको छ । संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा निःशुल्क र आधारभूत तहसम्मको शिक्षा अनिवार्य हुने भनिएको छ तर सरकारले जारी गरेको शिक्षा नीतिमा आधारभूत तह (कक्षा ८) सम्मका विद्यार्थीलाई मात्रै निःशुल्क शिक्षा उपलब्ध गराउने उल्लेख छ । आधारभूत तहकै निजी विद्यालयमा अध्ययनरत बालबालिकाको हकमा पनि शिक्षा नीति मौन छ ।
संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको थियो । संघीय सरकारले गत मंसिर २५ गते सार्वजनिक गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मा भने स्थानीय सरकारले शिक्षासम्बन्धी पाएका अधिकारलाई कटौती गरिएको छ । आधारभूत तहसम्मको शिक्षाका अधिकार स्थानीय तहलाई दिएर माध्यमिक शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार संघीय सरकारले आफैंले लिएको हो । बाँकी अधिकार प्रदेश सरकार मातहत सुम्पिएको छ ।
संविधानको मौलिक हकअन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी हक हुने उल्लेख छ । उक्त धाराले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने व्यवस्था गरेको छ । ‘आधारभूत विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय ल्याई अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था सुनिश्चित गरिनेछ,’ नीतिमा यति मात्र भनिएको छ ।
संविधानको अनुसूची ८ अनुसार माध्यमिक शिक्षासम्मको एकल अधिकार स्थानीय सरकारले पाएको थियो । शिक्षा नीतिले भने माध्यमिक तहसम्मको शिक्षालाई व्यवस्थापन गर्न स्थानीय, प्रदेश र संघीय सरकारमा जिम्मेवारी बाँडफाँट गरेको छ । माध्यमिक तहका शिक्षकको व्यवस्थापन जिम्मेवारी संघमातहत राखिएको छ । स्थानीय तहलाई प्रारम्भिक बाल विकास र आधारभूत तहको अनुमति, सञ्चालन, नियमन र व्यवस्थापनको बढी जिम्मेवारी मात्रै दिएको छ ।
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरेको सरकारले संविधानविपरीत शिक्षा नीति ल्याएको शिक्षाविद् मनप्रसाद वाग्लेले बताए । ‘कक्षा १२ सम्म निःशुल्क शिक्षा र स्थानीय तहले पाएको अधिकारको सवालमा शिक्षा नीति संविधानविरुद्ध छ,’ उनले भने, ‘स्थानीय सरकारलाई संविधानले दिएको अधिकार पनि खोसेर प्रदेशलाई दिइएको छ ।’ संविधानले सबै बालबालिकालाई बिना विभेद गुणस्तरीय शिक्षा प्रदान गर्ने सुनिश्चित गरेको छ । नीतिमा भने शिक्षक अभाव रहेका विद्यालयमा ५ वर्षभित्र विषय शिक्षक व्यवस्थापन गरिसक्ने भनिएको छ ।
‘उच्चस्तरीय शिक्षा आयोगले निजीको लगानीलाई निरुत्साहित गर्न सुझाव दिएको थियो,’ वाग्लेले भने, ‘नीतिले भने तत्काल शिक्षक नियुक्ति गर्ने बाटो लिएन । विभेदलाई प्रोत्साहन गरियो ।’ विषय शिक्षक नरहेका विद्यालयका बालबालिकाले ५ वर्षपछि मात्रै गुणस्तरीय शिक्षा पाउनेछन् भनेर भेदभाव गरिएको उनले तर्क गरे ।
बालविकास कक्षामा जोड
शिक्षा नीतिले प्रारम्भिक बालविकास कक्षाको व्यवस्थापनको अधिकांश जिम्मेवारी स्थानीय सरकारलाई दिँदै यसको सुधारमा सबैभन्दा बढी जोड दिएको छ । वडा/वडामा बालमैत्री तथा पूर्वाधारयुक्त
प्रारम्भिक बालविकास कक्षा र बालविकास तथा स्याहार केन्द्र सञ्चालन गर्ने नीतिमा उल्लेख छ ।
यस्ता कक्षामा सुरक्षा, पोषण, खेल (सामग्री र स्थान), शयनस्थल, भवन, कक्षाकोठा लगायतका आवश्यक भौतिक पूर्वाधार, बाल स्याहार तथा सिकाइ सहजीकरण गर्ने व्यवस्था मिलाउने भनिएको छ । स्थानीय तह र समुदायको साझेदारीमा वडा वा टोलमा बालबालिकाहरूलाई खेल्ने र मनोरञ्जन गर्ने सामग्रीहरूसहितको बालउद्यान निर्माण गर्ने नीति लिइएको हो । विद्यालय टाढा रहेका स्थानमा वैकल्पिक बालविकास केन्द्र स्थापना गर्ने अवधारणा अघि सारिएको छ ।
बालविकास कक्षाका लागि शिक्षकको योग्यतासमेत नीतिले तोकेको छ । हाल न्यून पारिश्रमिकमा स्वयंसेवक सहजकर्ताले बाल कक्षा सञ्चालन गरिरहेका छन् । सरकारले बालविकास कक्षाका शिक्षकको न्यूनतम शैक्षिक योग्यता कक्षा १० उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरेको हो ।
विद्यार्थी संख्याको आधारमा आवश्यक शिक्षकको व्यवस्था गर्दै जाने नीतिमा उल्लेख छ । सरकारले बाल कक्षाका शिक्षकहरूलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । ‘एकल मातृभाषी बाल कक्षामा मातृभाषा र मिश्रित भाषिक समूह भएका कक्षामा मातृभाषामा आधारित बहुभाषिक माध्यममा सिक्न पाउने अवसर प्रदान गर्न व्यवस्था मिलाइनेछ,’ नीतिमा भनिएको छ ।
आधारभूत तहमा मातृभाषामा अध्यापन गर्ने व्यवस्था गर्न नीतिले जोड दिएको छ । आधारभूतदेखि माध्यमिक तहसम्म गणित र विज्ञान विषयलाई भने अंग्रेजी भाषामा पठनपाठन गराउने प्रबन्ध गराउन लागिएको छ । नीतिमा अहिले सञ्चालनमा रहेका ‘प्लस टु’ कार्यक्रमलाई निश्चित समयावधिभित्र (कक्षा ९–१२) माध्यमिक तह वा (कक्षा १–१२) आधारभूतसहितको माध्यमिक तहमा विस्तार गरिसक्ने नीति लिइएको हो । कक्षा १–८ सञ्चालनमा रहेका आधारभूत विद्यालय, कक्षा ९–१२ पढाइ हुने माध्यमिक र १ देखि १२ कक्षासम्मका आधारभूतसहितका माध्यमिक तहका सञ्चालनमा रहेका ३ प्रकृतिका मात्रै विद्यालय व्यवस्था गर्न लागिएको हो ।
सम्बन्धनमा रोक
शिक्षा नीतिले विश्वविद्यालयहरूलाई सम्बन्धन दिन रोक लगाएको छ । ‘विश्वविद्यालयहरूलाई सम्बन्धन नदिने संस्थाका रूपमा विकास गर्दै लगिनेछ,’ नीतिमा भनिएको छ । विश्वविद्यालयले सम्बन्धन दिनुपर्ने अवस्था आए विश्वविद्यालय अनुदान आयोगको पूर्वस्वीकृतिमा मात्र सम्बन्धन दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थी संख्या थोरै भएका क्याम्पस वा शिक्षण संस्थालाई मर्जरमा लैजाने नीति अघि सारिएको छ ।

समाचार

बैठक सक्दै, बालुवाटार दौडँदै

- बिनु सुवेदी

(काठमाडौं) - नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई यो साता असिनपसिन भयो । पार्टी एकीकरणको डेढ वर्षपछि बसेको स्थायी समिति बैठक एक्लै सञ्चालन गर्ने जिम्मा पाएका दाहालसँग अर्को पनि जिम्मेवारी थियो– बैठकमा उठेका विषयबारे प्रधानमन्त्री एवं अर्का पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ब्रिफिङ गर्ने ।
त्यसैले उनी स्थायी समिति बैठकको पाँचौं दिनसम्म आइपुग्दा चार दिन त बैठक सकेर सोझै प्रधानमन्त्री निवास बालुवाटार पुगे । ‘बैठक सकिएपछि दाहाल सोझै बालुवाटार पुग्नुहुन्थ्यो र नेताहरूले उठाएका विषयबारे ससर्ती जानकारी गराउनुहुन्थ्यो,’ स्रोतले भन्यो, ‘दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेस भएकाले त्यसमा कस्ता विषय उठे भन्नेमा प्रधानमन्त्रीज्यूको अलि धेरै नै चासो थियो ।’
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीलाई सबै जानकारी गराउने काम अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलले गरेको बताए । यद्यपि अनौपचारिक रूपमा स्वयं रिमाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगातयतले पनि प्रधानमन्त्रीलाई स्थायी समितिमा उठेका विषयबारे जानकारी गराएका थिए । रिमालले त स्थायी समिति बैठकमा सरकारले अहिलेसम्म गरेका काम बुँदागत रूपमा प्रस्तुत गर्दै, कामै भएन भन्नु प्रधानमन्त्रीप्रतिको पूर्वाग्रह मात्रै भएको बताएका थिए । ‘०५१ सालदेखि नै सरकार नढलेसम्म सरकारले राम्रो काम गर्‍यो भनिएको जानकारी मलाई छैन, मरेपछि नेता महान् हुने, ढलेपछि सरकार तगडा गनिने परम्परा हामीले थेगेका छौं,’ रिमालले बैठकमै भनेका थिए । मन्त्री पोखरेलले बैठकमा उठेका विषयमा प्रधानमन्त्रीले चासो राख्दा आफूहरूले पनि जानकारी गराउने गरेको बताए । ‘सामान्यतः अध्यक्ष र महासचिवले बैठकबारे जानकारी गराउने, छलफल गर्ने गर्नुभयो, कहिलेकाहीं हामीले पनि जानकारी दियौं,’ पोखरेलले भने, ‘तपाईंहरूले बैठक राम्रोसँग गर्नुभएको छ, यसलाई अझै राम्रो गर्नुस् भन्ने प्रधानमन्त्रीको भनाइ छ ।’
गत १ गतेबाहेक बैठक बसेका हरेक दिन ओलीलाई जानकारी गराउन पुगेका दाहालले प्रतिवेदनमाथि उठेका विषयबारे शुक्रबार पनि छलफल गरेका थिए । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । स्थायी समिति बैठकमा प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि लिखित र मौखिक पनि धेरै विषय उठेका छन् । तिनै विषयलाई समेटेर प्रतिवेदन संशोधन गर्ने तयारीमा दाहाल छन् ।
‘प्रतिवेदनमा आएका सुझाव समेटेर थप समृद्ध बनाउने तयारीमा अध्यक्ष दाहाल हुनुहुन्छ,’ दाहालनिकट एक नेताले भने, ‘उठेका कुन–कुन विषयलाई सम्बोधन गर्ने भन्ने विषयमा दुई अध्यक्षले छलफल गर्नुभयो ।’ बैठकमा सरकारको काम र पार्टी नेतृत्वको विषयमा स्थायी समिति सदस्यहरूले आलोचनात्मक टिप्पणी गरेकाले त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि दुई अध्यक्षले मोटामोटी सहमति गरेका छन् । ‘सदस्यहरूले विषय नचर्काऊन् भनेर प्रतिवेदनमै आत्मालोचना गरिएको थियो तर सचिवालय सदस्यहरूबाटै कडा टिप्पणी आएपछि त्यसलाई कसरी जवाफ दिने भन्ने दबाब अध्यक्ष दाहाललाई छ,’ एक स्थायी समिति सदस्यले भने ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले उठाएको विषयबारे पनि दुई अध्यक्षबीच छलफल भएको छ । नेपालले यसअघिका सचिवालय बैठकमा आफूले पेस गरेको फरक मतको विषयमा छलफल नभएसम्म राजनीतिक प्रतिवेदन पास गर्न नदिने चेतावनी दिइसकेका छन् । मन्त्रीबाहेक नेपालपक्षीय अधिकांश नेताले सरकारको कामबारे कडा आलोचना गरेका छन् भने पार्टी पद्धतिमा नचलेको विषयलाई पनि प्रमुखतासाथ उठाएका छन् ।
स्थायी समिति बैठकमा अध्यक्षद्वयका तर्फबाट दाहालले राजनीतिक प्रतिवेदन र महासचिव पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए । अध्यक्षद्वयका तर्फबाट पेस भएको राजनीतिक प्रतिवेदनका केही अंशमा प्रधानमन्त्री ओलीको असहमति थियो । ‘हुन त उहाँले प्रधानमन्त्रीज्यूसँग सल्लाह गरेरै प्रतिवेदन तयार पार्नुभएको हो,’ ओलीनिकट एक नेताले भने, ‘तर उपचुनावको समीक्षाका
विषयमा प्रतिवेदनमा जे कुरा उल्लेख भएको छ, त्यसमा प्रधानमन्त्रीज्यू सन्तुष्ट हुनुहुन्थेन ।’
प्रतिवेदनमा उपनिर्वाचनको परिणामले पार्टीलाई विशेष धक्का दिएको उल्लेख गर्दै पार्टी र सरकारका कामलाई व्यवस्थित, संस्थागत र प्रभावकारी बनाउने गम्भीर शिक्षाका रूपमा त्यसलाई लिन जरुरी रहेको उल्लेख गरिएको थियो ।
ओलीपक्षीय नेताहरूले उपनिर्वाचन परिणाम उत्साहजनक रहेको बताइरहेका बेला दाहालले आफ्नो मात्रै जोडमा प्रतिवेदनमा उक्त कुरा राखेपछि ओली असन्तुष्ट थिए । यद्यपि बैठकमा अधिकांश सदस्यले उपनिर्वाचनको समीक्षाले झन् हतोत्साही गराउने भन्दै त्यसलाई परिमार्जन गर्न सुझाव दिएका थिए ।एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको अनुपस्थितिमा नेकपाभित्र यति लामो बहस भएको पहिलोपटक हो ।
एमसीसीको टुंगो स्थायी समिति बैठकबाटै ः दाहाल
अध्यक्ष दाहालले अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता अनुमोदनका विषयमा पार्टीको स्थायी समिति बैठकले निष्कर्ष निकाल्ने बताएका छन् । पार्टी संसदीय दलको बैठकमा शुक्रबार दाहालले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग हो कि हैन भन्नेबारे स्थायी समिति बैठकमा छलफल भइरहेको बताए । ‘एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग रहनेछ भन्ने सम्झौता संसद्बाट अनुमोदन हुन्छ,’ उनले भने ।
दाहालले भारतले गरेको सीमा अतिक्रमणबारे पार्टीको जारी स्थायी समिति बैठकपछि स्पष्ट धारणा तय हुने बताएका छन् । उनले भारतले नेपालको सीमा मिचेको र आफ्नो नक्सामा नेपाली भूमि राखेको विषयमा सरकारले कूटनीतिक नोट भारत सरकारलाई पठाएको जानकारी पनि उनले दिए । अध्यक्ष दाहालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएको तर्क गर्दै भारतसँग संवादका लागि नेपाल सरकारसँग प्रशस्त प्रमाण भएको बताए । ‘सरकारले कूटनीतिक नोट पठाइसकेको छ । त्यो नोट म आफैंले पनि हेरेको थिएँ,’ बैठकमा दाहालले भनेका थिए, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकबाट पनि यो विषयमा सहमति जुटेको छ । त्यहीअनुसार सरकारले आफ्नो धारणा स्पष्ट गरेको छ । अब कसरी प्रस्तुत हुने भन्ने निर्णय जारी स्थायी समिति बैठकले गर्छ ।’
बैठकको सुरुमै सांसदहरू भीम रावल, जनार्दन शर्मा, खगराज अधिकारी र झपट रावलले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेको उल्लेख गर्दै संसद् बैठकमा पनि सीमा मिचेको विषय पार्टीका तर्फबाट औपचारिक रूपमा लैजानुपर्ने माग गरेका थिए । बैठकमा सीमालगायतका विषयमा अरू सांसदहरू बोल्न खोजे पनि समय अभाव रहेको भन्दै बोल्न दिइएन ।

समाचार

कांग्रेस बैठक फेरि स्थगित

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– कांग्रेसमा भागबन्डाको विवाद नसुल्झिएपछि केन्द्रीय कार्यसमिति बैठक शुक्रबार तेस्रोपटक स्थगित भएको छ । अन्तिम सहमति गर्नका लागि पुस १० गतेसम्म बैठक स्थगित गरिएको उपसभापति विमलेन्द्र निधिले बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गर्दै आएका कारण केन्द्रीय कार्यसमिति बैठकमा एजेन्डामाथि छलफल हुन सकेको छैन । सभापति शेरबहादुर देउवाले मंसिर २६ को पहिलो बैठकमा महाधिवेशन कार्यतालिकाबिना केन्द्रीय विभाग, नेविसंघ र तरुण दल गठनका एजेन्डा प्रवेश गराएलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडल पक्षले बैठक बहिष्कार गरेको थियो । बहिष्कारका बीच मंसिर २६ र २९ गते बैठक बसे पनि त्यसयताका बैठक स्थगित हुँदै आएका छन् । पौडेल पक्षले कार्यतालिका एजेन्डामा नराखेसम्म बैठकमा अनुपस्थित हुने निर्णय लिएको छ । सभापति देउवा ०७७ फागुनमा महाधिवेशन गराउने गरी कार्यतालिका ल्याउन सहमत भए पनि विभाग र भ्रातृसंस्था गठनका विषयमा भने सहमति जुट्न सकेको छैन । देउवाले कार्यतालिकामा मात्रै नभई नेविसंघ, तरुण दल र विभाग गठनमा समेत पौडेल पक्षको सहमति चाहेका छन् । पौडेल पक्षले पनि कार्यतालिकासहित सबै एजेन्डामा ‘प्याकेज’ सहमति हुनुपर्ने बताउँदै आएको छ ।
सहमतिका लागि भएको एक साता लामो छलफलमा कार्यतालिका, विभाग र तरुण दलका विषयमा करिब सहमति जुटे पनि नेविसंघको भागबन्डामा कुरा मिलेको छैन । संघमा महामन्त्री कति जना बनाउने भन्नेमा दुवै पक्षबीच कुरा मिलेको छैन । पौडेल पक्षले अध्यक्ष, महामन्त्री, उपाध्यक्ष, कोषाध्यक्षसहित एक सय एक सदस्यीय कार्यसमिति गठनको माग उठाएको छ तर
देउवा चार महामन्त्रीको अडानबाट पछि हटेका छैनन् ।
पौडेल पक्षका वार्ता टोली सदस्य हृदयराम थानी संघमा कुरा मिलेमा अन्य विषयमा विवाद नहुने बताउँछन् । ‘मुख्य विवाद नेविसंघको विषयमा छ,’ थानीले भने, ‘यसलाई सभापतिजीले जुंगाको लडाइँ नबनाए सहमति हुन कठिनाइ छैन ।’ निधिले पनि पौडेल पक्षले उठाएका ९० प्रतिशत माग आफूहरूले मानेको दाबी गरेका छन् ।

समाचार

जंगल अंशबन्डा !

- कान्तिपुर संवाददाता
मोरङको जाँतेमा मह उत्पादनका लागि तोरीबारीमा राखिएका मौरी । तस्बिर ः कान्तिपुर

(विराटनगर) - मोरङ जाँतेका इमानाथ पोखरेल, उर्लाबारीका बोधराज खतिवडा र हरैंचाका रेवती तिम्सिना सहोदर दाजुभाइ होइनन् । तर पनि उनीहरू हरेक वर्ष अंशबन्डा गर्छन् । उनीहरूबीच आफ्नो चल अचल सम्पत्तिको नभई अर्काको तोरी फुलेको खेतबारी र जंगलको अंशबन्डा हुन्छ ।
उनीहरूसहित मोरङमा सयजना व्यावसायिक रूपमा मौरी पाल्नेहरू छन् । हरेक वर्ष मंसिर पहिलो साता चरन मौरी चराउने चरन बाँडफाँट गर्छन् । यसलाई उनीहरू ‘अंश’ लगाउने भन्छन् । एउटाले पाएको भागमा अर्कोले मौरी चराउन पाउँदैनन् । उनीहरूले त्यो चरन क्षेत्र आफूखुसी भने लिन पाउँदैनन् । चरन क्षेत्र अंश लगाउने ठाउँ–ठाउँमा उपसमिति हुन्छ । त्यो समितिले सबै मौरी एकै ठाउँमा नजुध्ने गरी भागबन्डा गर्ने गरेको मौरीपालन संघ मोरङका अध्यक्ष बोधराज खतिवडाले बताए । समितिले किसानका मौरीका घारका आधारमा चरन क्षेत्र बाँडफाँट गर्छ । त्यसपछि उनीहरू मौरीका घार लिएर आफ्नो अंशमा चराउन निस्कन्छन् र तोरीको फूल झरेपछि घर फर्कन्छन् । फिरेपछि उनीहरू जंगली क्षेत्रको चरनका लागि समितिसँग पुनः चरन क्षेत्र अंश लिन पुग्छन् । मोरङ जाँतेका व्यावसायिक मौरीपालक पोखरेलको भागमा यसपालि पनि मौरी चराउन होक्लाबारी, बाहुनी र सुनवर्षीको तोरीबारी अंशमा परेको छ । तोरीको फूल नझरेसम्म त्यहाँ अरू कसैले पनि घार लिएर जान पाउँदैन । अरूले हस्तक्षेप गरे समितिले जरिवाना लिन्छ ।
युरोपबाट ल्याइएको मेलीफेरा जातको मौरीको व्यावसायिक पालन गर्दै आएका छन् । यो व्यवसायलाई बढाउन लेटाङ, उर्लाबारी र रंगेली नगरपालिकाले किसानलाई अनुदान दिँदै आएको छ । उर्लाबारीका बोधराज खतिवडालाई पनि यसपालि उर्लाबारी र होक्लाबारीको केही भाग अंश परेको छ । हरैंचाका रेवती तिम्सिनाको भागमा त्यहीँको बेलेपुरको तोरीबारी परेको छ । ‘तीन वर्षदेखि तोरीको सिजनमा मौरी चराउन होक्लाबारी, बाहुनी र सुनवर्षीका तोरीबारी अंश पाएको छु,’ पोखरेलले भने, ‘यो अंश फागुनसम्मका लागि हो ।’ अर्को साल मंसिर पहिलो साता सबै मौरीपालकलाई चार महिनाका लागि तोरीबारीको अंशबन्डा हुनेछ ।
यसपटक पोखरेलका १ सय ६५ वटा मौरीघार छन् । त्यसबाट जंगली करिब ४५ क्विन्टल मह उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । ‘पोहोर १ सय ८० घार थिए,’ उनले भने, ‘एकै सिजनमा ३५ क्विन्टल मह भएको थियो ।’ तोरीको सिजन सकिएपछि मौरीपालकलाई चरनका लागि बर्सेनि फागुनमा जंगल र बगर बाँडफाँट गर्ने गरेको मौरीपालन संघ मोरङका अध्यक्ष खतिवडा बताउँछन् । तोरीको सिजनमा मौरी चराउनका लागि होक्लाबारी, केरौन, सुनवर्षी, मृगौलिया, हरैंचाको बेलेपुर, बाहुनी, पथरी शनिश्चरे र बयरवनलगायतका स्थान चरन व्यवस्थापन उपसमितिले अंशबन्डा गरिदिन्छ ।

Page 4
वाग्मती प्रदेश

हात्ती आतंकले गाउँ नै विस्थापित

- रमेशकुमार पौडेल

(चितवन) - पुसको चिसोमा हतपती आकाश खुल्दैन । बिहानीपख पानीका थोपाजसरी शीत तप्किन्छन् । लगाउने न्यानो कपडा नभए पनि कठ्यांग्रिँदो जाडोमा रामशरण तामाङलार्ई आगो तापेर बस्ने फुर्सदसमेत छैन । पुरानो थातथलोबाट माडी नगरपालिका–९ राईडाँडामा आएका उनले छाप्रा त बनाएका छन् तर यसको स्थायीत्वको ठेगान छैन । कतिपय ओत लाग्ने छहारी बनाइरहेका छन् । राईडाँडामा यस्तो चहलपहल सुरु भएको दुई महिना बित्यो ।
राईडाँडादेखि करिब २ घन्टाको दुरीमा छ, कुसुमखोला । जंगल र खहरे खोलाले घेरिएको यो ठाउँमा ०५५ सालपछि चितवन, तनहुँ र मकवानपुरको पहाडी क्षेत्रका चेपाङ, तामाङ र भुजेलहरू आएर बस्न थालेका हुन् । बाढी र पहिरोले घरखेत लगेपछि उनीहरू भौंतारिँदै कुसुमखोला पुगे । ०६६ सालसम्म विभिन्न ठाउँबाट आउने क्रम जारी रह्यो । पछि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले बस्ती बस्न नपाउने भन्दै छाडेर जान लिखित सूचना नै जारी गर्न थाल्यो । प्रशासनको चेतावनी आए पनि विकल्प पत्तो नलाग्दा उनीहरूले कुसुमखोला छाडेनन् । ‘अहिले नछाडी नहुने बाध्यतामा परियो,’ पूर्णीमाया चेपाङले भनिन् । उनी माडी नगरपालिका–९ को वडा सदस्य पनि हुन् । पहिरोले घरखेत लगेपछि मकवानपुरबाट आएर उनी कुसुमखोलामा बसेकी हुन् । ‘यसपटक कुसुमखोला पुगेका जंगली हात्तीले दुःख दिए । घर भत्काउन थाले । भएको अन्नपातमा नोक्सान भयो,’ उनले दुःख सुनाइन्, ‘मान्छेलाई त केही गरेन तर घर नै छाडेर लुक्नुपर्ने भयो ।’ पछिल्लोपटक १५ घरमा हात्तीले नोक्सान गरेपछि सबैले गाउँ छाड्ने निधो गरे । निकुञ्जले उर्दी गरेकाले केही भने राईडाँडामा वर्ष दिनअघि नै आइसकेका थिए ।
माडी–९ का वडाध्यक्ष शिवहरि सुवेदीका अनुसार कुसुमखोला क्षेत्रका विभिन्न खोँच र पाखामा दुई सय घरपरिवार बस्थे । तीमध्ये ९५ प्रतिशत चेपाङ छन् । कुसुमखोलाबाट विस्थापित भएकामध्ये ४८ घरलाई प्याली भन्ने ठाउँमा राख्ने तयारी भइरहेको उनले बताए । ‘राईडाँडामा सबैभन्दा धेरै ८८ घरपरिवारको व्यवस्थापन गर्छौं,’ उनले भने, ‘बाँकीलाई खरकट्टा र बगईको डाँडामा राख्ने तयारी छ ।’ निकुञ्ज क्षेत्रमा बस्दा हप्कीदप्की सहेका कसुमखोलावासी जंगली हात्तीका कारण ज्यानै खतरामा परेपछि लाखापाखा लागेका हुन् । उनीहरूलाई व्यवस्थित रूपमा बसाउन वडा र नगरपालिकाले देखाएको सुवेदीले बताउँछन् । ‘हामीले सघन सहरी विकास कार्यालयसँग समन्वय गरेका छौं । बस्न मिल्ने जस्ताले छाएको सामान्य दुईकोठे घर, घरसम्म पुग्ने बाटो, पानीको सुविधा मिलाउन प्रयासरत छौं,’ वडाध्यक्ष सुवेदीले भने । उनीहरू निकुञ्जको जग्गा छाडेर वनको जग्गामा बस्न आइपुगेका छन् । ‘त्यहाँ पनि वनको जग्गा यहाँ पनि वनकै । लालपुर्जा पाउने त आसै छैन,’ वृद्ध सोमबहादुर चेपाङ दिक्क छन्, ‘बरु त्यहाँ खन्न खोस्रन मिल्ले पाखो बारी थियो । यहाँ त त्यो पनि नहुने भयो । के खाएर छाक टार्ने ?’
‘कुसुमखोलामा पाखामा लगाएको मकै, कोदो, तोरीले छाक टार्न सजिलो थियो । त्यहाँ बस्नै नसक्ने भइयो,’ डेढ वर्षका जुम्ल्याहा छोरी बोकेर हिँडेका अर्जुन चेपाङले भने, ‘बस्तीमा केटाकेटीहरू पनि टन्नै छन् । मेहनत मजदुरी गरेरै परिवार पाल्न सकिएला कि नसकिएला भन्ने पिरलो छ ।’ माडीमा जंगली हात्तीको डर सधैं रहन्छ । निकुञ्ज क्षेत्रमै परेका कारण कुसुमखोलामा हात्ती सहजै ओहोरदोहोर गर्दथ्यो । अहिले बसेको ठाउँमा हात्ती पुगेको छैन । ‘हात्तीको डर नभए पनि बाँच्ने उपाए जुटाउन नसकिएला भन्ने चिन्ता छ,’ अर्जुनले थपे ।

वाग्मती प्रदेश

१५ सय दीक्षित

- कान्तिपुर संवाददाता

काभ्रे (कास)– काठमाडौं विश्वविद्यालय (केयू) को पच्चीसौं दीक्षान्त समारोहको दोस्रो चरणमा १ हजार ५ सय ४६ जना दीक्षित भएका छन् । १६ जना पीएचडी, ५५ जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार ५ सय ४६ जनाले शुक्रबार उपाधि लिए ।
कुलपति रहेका प्रधानमन्त्री स्वास्थ्यका कारण सहभागी हुन नसकेपछि सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा समारोह भएको हो ।
अर्जेन्टिना, भारत, इजरायल, जापान, केन्या, मालदिभ्स, पाकिस्तान, स्विडेन, युक्रेन, बेलायत र अमेरिका गरी ११ देशका १३ जना विदेशी विद्यार्थी पनि दीक्षित भए । कार्यक्रममा ल्यान्ड म्यानेजमेन्ट विषयमा पहिलोपटक पीएचडी उपाधि प्रदान गरियो ।

वाग्मती प्रदेश

गुठी जग्गा व्यापारिक प्रयोजनमा

- प्रशान्त माली
काठमाडौंको चाबहिलस्थित बालाचतुर्दशी गुठीको जग्गा । गुठीयारलाई जानकारी नगराई यो जग्गा भाडामा लगाइएको छ । तस्बिर ः कान्तिपुर

(काठमाडौं) - चाबहिलका ६८ वर्षीय सत्यनारायण वैद्य गोरखनाथ चक्रपूजा (बालाचतुर्दशी) गुठीका गुठीयार हुन् । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित गुठीको जग्गामा ३० वर्षअघिसम्म खेती गरी अन्न भित्र्याएको उनीसँग अनुभव छ । ‘त्यहीँ उब्जेको अन्न मृगस्थलीको गोरखनाथ मन्दिरमा पूजा गर्न, जाँड पकाउन र भण्डारा खुवाउन महन्तलाई बुझाउने गर्थ्यौं । बीचमा मुद्दामामिला पर्‍यो,’ उनले भने, ‘अनि भोगचलन गर्न छोड्यौं । अहिले गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको सुनेर छाँगाबाट खसेजस्तो भएको छु ।’
बालाचतुर्दशीमा देशविदेशबाट पशुपतिनाथ र मृगस्थलीको गोरखनाथ मन्दिर दर्शन गर्न आउने साधुसन्त, कनफट्टा जोगी र योगीलाई भण्डारा खुवाउन गुठी स्थापना गरिएको थियो । पर्वपूजा र गुह्येश्वरीमा बलिसहितको रात्रीकालिन पूजा चलाउन चाबहिलमा जग्गाको व्यवस्थापन भएको वैद्य बताउँछन् ।
गुठीको ९ रोपनी १५ आना २ पैसा क्षेत्रफलको यो जग्गा गुठी संस्थान काठमाडौं शाखाले मरिण ठाकुर इन्टरनेसनल कम्पनीलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिएको छ । सञ्चालक ऋषिराम गर्तौलासँग संस्थानले मासिक ८ लाख ५ हजार रुपैयाँमा पाँच वर्षका लागि सम्झौता गरिसकेको छ । सम्बन्धित गुठीयारसँग छलफल नै नगरी जग्गा भाडामा दिएपछि स्थानीय चकित परेका छन् । ‘यो कार्य संस्थानको ऐन, मर्म र भावनाविपरीत छ । गुठीयारसँग संस्थानले रायसुझाव लिनैपर्छ,’ वैद्यले भने, ‘भाडामा दिने निर्णय कुनै पनि हालतमा कार्यान्वयन हुन दिँदैनौं । जबरजस्ती गरेमा आन्दोलनमा उत्रिन्छौं ।’ संस्थानले ०७६ मंसिर १७ मा कम्पनीसँग सम्झौता गरेको थियो । गुठीमा सातजना गुठीयार छन् । वैद्यबाहेक अन्य गुठीयार जग्गा भाडामा लगाएको बारे अनभिज्ञ छन् । अर्का गुठीयार ५७ वर्षीय विनोद वैद्यका अनुसार उक्त जग्गा पहिले गुठीयारले प्रत्येक वर्ष पालैपालो भोगचलन गर्थे । जसको पालो पर्थ्यो, उसले गोरखनाथ मन्दिरमा दुइटा बोका र गुह्येश्वरीमा राँगा बलिसहित पूजाको व्यवस्थापन गर्नुपर्थ्यो । ‘गोरखनाथ मन्दिरका महन्तलाई ३० पाथी धान र जाँड पनि दिने गरिन्थ्यो,’ उनले भने, ‘वर्षभरि दिवंगत भएका आफन्तको आत्मा शान्तिको कामना गर्दै साधुसन्तलाई भण्डारा खुवाउने चलन थियो । यस्तो ऐतिहासिक महत्व बोकेको जग्गा गुठीयारकै सहमतिबिना भाडामा दिने निर्णय हामीलाई कसरी मान्य हुन सक्छ ?’
हिन्दु धर्मावलम्बीले प्रत्येक वर्ष मंसिर कृष्ण त्रयोदशीको राति दियो बाल्ने र भोलिपल्ट पशुपति क्षेत्रको श्लेषमान्तक वनमा सद्बीज छर्ने चलन छ । बालाचतुर्दशीको अवसरमा गोरखनाथ मन्दिरमा विशेष पूजा गरिन्छ । यसदिन पशुपति क्षेत्रका सत्तल, पाटी तथा विश्वरूप, राममन्दिर, कैलाश, वनकालीमा जाग्राम बस्ने योगी र ध्यानीको घुइँचो लाग्छ । तीर्थयात्रीलाई गोरखनाथ मन्दिरका महन्तद्वारा भण्डारा खुवाई जनही पाँच सयदेखि एक हजार दक्षिणा दिएर बिदा गर्ने चलन छ । यो सबै व्यवस्थापन बालाचतुर्दशी गुठीले नै गर्छ । तर, संस्थानले जग्गा भाडामा दिएको बारे गोरखनाथ मन्दिरका मूल महन्तलाई पनि जानकारी गराएको छैन । मन्दिरका ७० वर्षीय महन्त श्रीषनाथले सम्बन्धित गुठीयारसँग रायसुझाव नलिई भाडामा लगाउनु संस्थानको नैतिक पतन भएको बताउँछन् । आठ महिनाअघि पनि संस्थानले उक्त जग्गामा व्यापारिक भवन बनाउन लागेको उनले बताए । ‘त्यसबेला थाहा पाएर हामीले विरोध गरेपछि काम अघि बढ्न दिएनौं,’ उनले भने, ‘गुठीयारको यो जग्गामा जबरजस्ती संरचना बनाउन दिँदैनौं ।’
संस्थानका प्रमुख शैलेन्द्र पौडेल भने गुठी जग्गा भाडामा दिन गुठीयार वा महन्तसँग छलफल गरिरहन आवश्यक नहुने तर्क गर्छन् । ‘जग्गाबाट गुठीयार आफैले आम्दानी र खर्च गर्ने भए छलफल गर्नु आवश्यक थियो,’ उनले भने, ‘चाबहिलको जग्गाको सम्पूर्ण आम्दानी खर्च संस्थानले नै गर्दै आइरहेकाले गुठीयारलाई सोधिराख्नु पर्दैन ।’ उनले गोरखनाथ मन्दिरका लागि पनि संस्थानबाट छुट्टै खर्च पठाउने गरेको दाबी गरे । ‘सबै कुरा सोधेर पनि साध्य हुँदैन,’ उनले भने । उक्त जग्गा नरेन्द्रदेवको पालादेखि रहेको र धर्मसंस्कृति लोप हुने गरी संस्थानले आफूखुसी भाडामा लगाएको प्रति गुह्येश्वरीका पुजारीको पनि आपत्ति छ ।
उक्त क्षेत्रका सांसदले समेत संस्थानले भाडामा लगाउनुअघिदेखि नै जग्गा खुला राख्न माग गर्दै आइरहेका थिए । संस्थानको ऐनमा पनि सामुदायिक हितका लागि उपलब्ध गराउन सक्ने प्रावधान छ । गुठी संस्थान ऐन २०३३ को दफा ४२ (क) मा ‘सरकारले संस्थानको स्वामित्वमा रहेको जग्गा कल्याण वा सामुदायिक हितको लागि उपलब्ध गर्न वा गराउन आवश्यक देखेमा व्यवहारिकता हेरी सहुलियत मूल्यमा लिन सक्ने’ उल्लेख छ ।
काठमाडौं क्षेत्र नम्बर ४ प्रदेशसभा ‘क’ का सांसद नरोत्तम वैद्यले जसरी भए पनि जग्गा गुठीयार र सामुदायिक हितका लागि प्रयोगमा ल्याइने बताए । ‘ठेकेदार र संस्थानलाई संरचना बनाउन नदिन अल्टिमेटम दिइसकेको छु,’ उनले चेतावनीको शैलीमा भने, ‘जबरजस्ती गरेमा कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं । उत्पन्न क्षतिको जिम्मेवारी संस्थानले लिनुपर्नेछ ।’ यही जग्गाको मोहियानी हकसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ । संस्थान प्रमुख पौडेलले सरकारले चाहेमा मुआब्जा दिएर जग्गा लिन सकिने भए तापनि प्रक्रियागत ढंगबाट नआएको बताए । ‘मौखिक रूपमा मात्र खुला क्षेत्र बनाउँछु भनेर हुँदैन,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्‍यो वा जग्गाको सट्टाभर्ना दिनुपर्‍यो । सिधै हस्तक्षेप गर्न मिल्दैन ।’
संस्थानको जवाफ
काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसद गगन थापाले जग्गा भाडामा नलगाई खुल्ला क्षेत्र कायम गर्न माग गर्दै संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा ०७५ भदौ २२ मा निवेदन दर्ता गराएका थिए । तर, संस्थानले बेवास्ता गर्दै जग्गा भाडामा लगाउन ०७६ साउन २८ गते सूचना प्रकाशित गर्‍यो । त्यसपछि पनि थापाले ०७६ भदौ ३० र असोज १७ मा संस्थानको निर्णय तत्काल बदर गर्न माग गर्दै निवेदन दर्ता गरे ।
संस्थानले ०७६ मंसिर २९ गते मात्रै थापालाई जवाफ पठाएको छ । जात्रापर्व सञ्चालन गर्न गुठी जग्गा आयमूलक कार्यमा लगाउन सकिने कानुनी व्यवस्था रहेको जवाफमा उल्लेख छ । कानुनसम्मत सार्वजनिक सूचना निकाली भूबहालको मूल्यांकन गरी भाडामा लगाइएको संस्थाले प्रस्ट्याएको छ ।

वाग्मती प्रदेश

ठमेलमा काटिए इन्टरनेटका तार

- सीमा तामाङ

(काठमाडौं) - मध्याह्नको समय सामाखुसी बस्ने विकास महर्जन ठमेलस्थित सञ्चय कोष भवनअघि मोबाइल चलाउँदै थिए । उनको मोबाइलमा फ्रि वाइफाई चलेन । उनी एउटा अफिस पत्ता नलागेर इन्टरनेटमार्फत लोकेसन खोज्दै रहेछन् । ‘यसो हेर्दा पोलमा तार पनि देखिनँ । कुनै वाइफाईको नाम नदेखाउँदा म त छक्क परेँ,’ उनले भने ।
विद्युतको बाहेक टेलिफोन, इन्टरनेटका तार काटिएपछि केही स्थानीय आक्रोश व्यक्त गर्दै थिए भने केही खुसी पनि देखिए । ‘बल्ल ठमेल सफा र जोखिमरहित हुने भयो,’ एक व्यापारीले भने ।
तार काटिएपछि आइतबारदेखि ठमेल क्षेत्रमा इन्टरनेट जडान गरेका कर्पोरेट ग्राहकदेखि होटेल, रेस्टुराँ, व्यावसायिक प्रतिष्ठान र स्थानीय उपभोक्ताको घरमा सेवा पूर्ण रूपमा ठप्प छ । ठमेल पर्यटन विकास परिषद्ले सहरलाई कुरूप बनाएको भन्दै पोलमा झुन्डिएका तथा सडकमा लत्रिएका तार काट्न थालेको हो । परिषद्ले विद्युतका तारबाहेक अन्य सबै तार काटिएको जनाएको छ । ‘ठमेललाई सुन्दर र सफा राख्न तार व्यवस्थापन गरेका हौं,’ परिषद्का उपाध्यक्ष राजुमान डंगोलले भने, ‘विभिन्न किसिमका तारले गर्दा असुरक्षा बढाएको थियो ।’ उनका अनुसार ठमेलको करिब दुई किलोमिटर क्षेत्रमा तार व्यवस्थापन भइसकेको छ ।
चारवटा वडा कार्यालय, नेपाल प्रहरी, विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायत संस्थासँग छलफल गरेरै तार काट्न थालेको डंगोलले दाबी गरे । ‘काम लाग्ने तथा नलाग्ने तार छुट्याउन नसकेपछि सामूहिक छलफल गरेर काटिएको हो,’ उनले भने । मंसिर १७ गते सातदिने सार्वजनिक सूचना जारी गरे पनि सरोकारवाला निकाय अग्रसर नभएपछि आफूहरू नै अघि सरेको उनको भनाइ छ ।
अहिले काटिएका क्षेत्रमा नेपाल टेलिकमले पुनः तार राख्न सुरु गरिसकेको उनले जानकारी दिए । ‘अस्थायी रूपमा विद्युतका तारजसरी नै तन्काउन सुरु गरिए पनि टेलिकमले दुई महिनाभित्र भूमिगत गर्ने भएको छ,’ उनले भने । केशर पुस्तकालयदेखि ठमेलस्थित सञ्चयकोष भवन, नरसिङ चोक, सातघुम्ती चोक, ठमेल–ज्याठा मार्गसम्म तार व्यवस्थापन गरिसकेको परिषद्ले जनाएको छ ।
ठमेल क्षेत्र काठमाडौं महानगरपालिकाको १६, १७, २६ र २७ वडामा पर्छ । वडा नम्बर २७ का सदस्य नरेशमान महर्जन पनि सम्बन्धित निकायसँग छलफल गरेर नै तार व्यवस्थापन गरिरहेको बताउँछन् । ‘तारले सहरलाई नराम्रो बनायो । आगलागीको सम्भावना पनि बढेको छ,’ उनले भने ।
आइस्पानको आपत्ति
परिषद्ले तार व्यवस्थापनको काम सुरु गरेपछि इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आइस्पान) ले उक्त कार्यलाई गैरकानुनी भनेको छ । नेपाल दुरसञ्चार प्राधिकरण र आफूहरूसँग छलफल नै नगरी तार काटिएको उक्त संस्थाका अध्यक्ष भोजराज भट्टले बताए । ‘अहिलेसम्म पाँच करोडको क्षति भइसक्यो । प्राधिकरणबाट मान्छे पठाएर तार नकाट्न आग्रह गरिए पनि रोकिएन,’ उनले भने, ‘परिषद्ले खबरै नगरी मनोमानी गरिरहेको छ, हामीसँग छलफल नगरे पनि प्राधिकरणसँग गर्नुपर्थ्यो ।’ सरकारले इन्टरनेटको तार भूमिगत गर्न निर्देशन दिएअनुसार एक वर्षभित्र सबै ठाउँमा भूमिगत गर्ने तयारी गरिरहेको उनको भनाइ छ । ‘कानुनी रूपमा अघि बढ्छौं, अहिले तार काट्नेविरुद्ध प्रहरीसँग कारबाही माग गरेका छौं,’ उनले भने, ‘दोषीलाई कारबाही नभएसम्म उक्त क्षेत्रमा हामी सेवा दिँदैनौं ।’
प्राधिकरणको ध्यानाकर्षण
नेपाल दुरसञ्चार प्राधिकरणले तार काटिएपछि ध्यानाकर्षण भएको जनाएको छ । अव्यवस्थित तारलाई व्यवस्थित गर्ने प्रक्रिया अगाडि बढाइरहेको र सेवा प्रदायक संस्था तार व्यवस्थापन गर्न तत्पर हुँदाहुँदै छलफलबिनै उक्त कार्य गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । यस्तो कार्य दुरसञ्चार ऐन ०५३ को मर्मविपरीत हुनुका
साथै दण्डनीयसमेत भएको प्राधिकरणले जनाएको छ । यस्तो कार्यले सेवाग्राही तथा आम नागरिक दुरसञ्चार सेवाबाट वञ्चित हुनुका साथै आर्थिक व्ययभारसमेत भएको प्राधिकरणको भनाइ छ ।

Page 5
Page 6
विविधा

चिनियाँ विश्व व्यवस्थाको प्रश्न

- रमेश के.सी.

 

अमेरिकी जनतालाई चुनावमा भोट कसरी हाल्ने थाहा छ । चिनियाँ जनतालाई चुनावमा भोट हाल्न आउँदैन । अमेरिकी जनता आफ्नो संविधानको व्यक्तिगत स्वतन्त्रताको बखान गरेर थाक्दैनन् । चिनियाँ जनतालाई व्यक्तिभन्दा परिवार ठूलो, परिवारभन्दा समाज र समाजभन्दा राष्ट्र ठूलो भन्ने कन्फुसियाली मन्त्र थाहा छ । दुई भिन्न राजनीतिक र सांस्कृतिक पद्धति भएका यी दुई मुलुकहरू अहिले प्रतिस्पर्धी भएका छन् । अमेरिकी संस्थापन पक्षका चिन्तक तथा रणनीतिकारहरू चीनको उदय अमेरिकालाई विस्थापित गरेर विश्व व्यवस्था हात पार्न खेल भएको दाबी गर्छन् । राष्ट्रपति बाराक ओबामा र डोनाल्ड ट्रम्पले त्यही भनिरहेका छन् । चीन खतरा हो, चीन चुनौती हो । यही क्रममा बीबीसी टेलिभिजनले ‘राइभल्स’ नामक कार्यक्रम बनायो भने अलजजिराले दुई भागमा दुई घन्टाको ‘द विग पिक्चर’ डकुमेन्ट्री प्रसारण गर्‍यो । एक्काइसौं शताब्दीको विश्व राजनीतिको रङ्गमञ्च अमेरिका र चीनको शक्ति अभियानले भरिनेछ । जसरी कि बिसौं शताब्दीको राजनीतिक रङ्गमञ्च अमेरिका र सोभियत संघको शक्ति अभियानले भरिएको थियो । अमेरिकाको क्षय सुरु भइसकेको छ । तर चीनका सर्वोच्य नेता देङ सियाओ पिङका सहयोगी तथा दोभाषे भिक्टर गाओ चीनको उदय कुनै पनि राष्ट्रलाई विस्थापित गरेर बढ्ने नभई विश्व शान्ति र स्थायित्वका लागि भएको बताउँछन् ।
के चीन सन् ५० पछि विश्व व्यवस्थाको दाबेदार हो ? घटनाक्रमले त्यस्तै देखाउँछ । सन् २२१ मा पहिलोपल्ट एकीकरण भएको चीन बिसौं शताब्दीको मध्यमा कम्युनिष्ट हुँदै अहिले कन्फुसियाली महाशक्ति बनेको छ । चीनका सामन्त शासकहरूको मस्तिष्कमा चिनियाँ विश्व व्यवस्थाको अवधारण ‘चीन केन्द्रित विश्व’को नाममा जरो गाडेर बसेको छ । एसियामा रहेको भारतीय र जापानी विश्व व्यवस्थाको अवधारणाभन्दा चिनियाँ विश्व व्यवस्थाको अवधारणा बलियो छ । चीनको उदयले पनि त्यसको पुष्टि गर्छ । चिङ वंशले पहिलोपल्ट साम्राज्यको स्थापना गरेपछि कानुनवादको धारणा लागू गर्‍यो । जुन अहिलेसम्म जीवितै छ । चिङ वंशले स्थायित्व र सामाजिक संगतिमा जोड दियो । जसलाई वर्तमान चीनका शासकहरूले पनि जोड दिइरहेका छन् । कानुनवादको आवधारणा राज्यमा बस्नेले शासकप्रति वफादार भई नियम पालना गर्नुपर्ने हुन्छ । जसलाई चीनका शासकले वर्तमानमा सिनजियाङ र तिब्बतका अल्पसंख्यक मुस्लिम र बौद्धहरूलाई पालना गर्न बल प्रयोग गरिरहेका छन् । हङकङका जनताको प्रजातान्त्रिक आन्दोलन पनि बेजिइङका सम्राटहरूको सम्पूर्ण स्वर्गमुनि छ भन्ने धारणालाई चुनौती हो । अमेरिकाले हालै हङकङ र सिनजियाङका नागरिकको मानव अधिकारका लागि विधेयकहरू कंग्रेसबाट पारित गरेको छ । तर चीनका नेता देङले पश्चिमाहरूले मानव अधिकारको प्रश्न विकासशील देशहरूलाई कमजोर पार्न रणनीतिक रूपमा प्रयोग गरेको बताएको थिए । अमेरिकाले मानव अधिकार आफ्नो आन्तरिक मामलामा हस्तक्षेप गर्न प्रयोग गरेको आरोप चीनले लगाएको छ ।
चिनियाँ समाज पश्चिमाहरूको जस्तो मिसनरी होइन । उन्नाइसौं शताब्दीको मध्यसम्म चीनको आधुनिक विदेश मन्त्रालय नै थिएन । शासकहरूले आन्तरिक मामलामा ध्यान केन्द्रित गरेका थिए । सन् १९११ मा सन्यात्सेनले गणतान्त्रिक चीन बनाएपछि वेष्टफेलियन संरचनामा चीनले आफ्नो विदेश नीति सञ्चालन गर्न थालेको हो । सन् १६४८ मा जर्मनको वेष्टफेलियामा ३० वर्षसम्म संघर्षरत युरोपका राज्यहरू सम्झौतामा पुगेपछि त्यहाँ शान्ति र स्थायित्व आएको थियो । वेष्टफेलियन विश्व व्यवस्थाले अरुको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने र शक्ति सन्तुलनमा जोड दिन्छ । वर्तमान विश्व त्यही विश्व व्यवस्थामार्फत चलेको छ । एउटा विश्व व्यवस्था अर्कोमा सदा ठूलो युद्ध वा उथल–पुथल हुने गर्छ । सन् १९४५ बाट अमेरिकाले बेलायतबाट शान्तिपूर्ण ढङ्गबाट विश्व व्यवस्था आफ्नो हातमा लियो । उसले संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व व्यापार संगठन र अन्तर्राष्ट्रिय अपराध अदालतजस्तो बहुपक्षीय संगठनहरूको निर्माण गर्‍यो । अहिलेका विश्वका शासक तिनीहरू नै हुन् । शीतयुद्ध कालमा सोभियत संघले पुँजीवादी विश्व व्यवस्थालाई चुनौती दिएको थियो । अहिले त्यो चुनौती चीनले बेल्ट र रोड अभियानमार्फत एसिया, युरोप, अफ्रिकासम्म सञ्जालहरू बनाएर चुनौती दिएको छ । चीनले एसिया इन्फ्रारट्रक्चर डेभलपमेन्ट बैंकमार्फत विश्व बैंकको विकल्प सारेको छ । संघाई कोअपरेसनमार्फत सुरक्षाका लागि क्षेत्रीय मञ्च गठन गरेको छ र तर यतिले मात्र पुग्दैन । पश्चिमाहरू मान्छन् कि चीनको एकदलीय कन्फुसियाली समाज अरु विश्वका लागि अनुकरणीय छैन । राजनीतिशास्त्री फ्रान्सिस फुकुयामा भविष्यमा चीन केही मौलिक र केही पश्चिमा हुने बताउँछन् । उनी चिनियाँ मोडल पश्चिमा मोडलजस्तो वैश्विक नहुने दाबी गर्छन् । किनभने चीन वेष्टफेलियन मोडलमार्फत नै उदाएको हो । चीनको इतिहासमा उसको अन्तर्राष्ट्रिय सम्बन्ध वेष्टफेलियन हैन । तर आधुनिक कालमा चीन वेष्टफेलियन पद्धतिमा गए पनि उसको धारणा मध्यअधिराज्य ग्रन्थि जो आफूलाई विश्वको केन्द्र ठान्छ, त्यो जीवित नै छ । ओलम्पिक खेलको आयोजना राष्ट्रपति हु जिनताओको पालोमा गरेर विश्वमा देङले भनेजस्तो क्षमता लुकाउने होइन, प्रदर्शन गर्नका लागि सी चिनफिङको कार्यकाल झन् आक्रामक बनेर देखापरेको छ । चीनका सैनिक जर्नेल र रणनीतिकारहरू उग्रराष्ट्रवादी मुद्रामा प्रस्तुत हुन्छन् । अझ एकथरी त चीनको कन्फुसियाली सभ्यता विश्व व्यवस्थाको लागि उचित नै भएको दाबी गर्छन् । जसलाई लेखक मार्टिन ज्याक्सले विश्वको चिनियाँकरण भनेका छन् । एकथरी पश्चिमाहरू चीनको नेतृत्वलाई असल–खराब सम्राटको रूपमा तुलना गर्छन् । नेतृत्वमा असल सम्राट रहुन्जेल त ठिक हुन्छ, तर खराब सभ्राट भए कुरा बिग्रन्छ । वर्तमान राष्ट्रपति सी चिङफिङले आफ्नो दुई पदावधिको कार्यकाल असीमित पारेपछि उनलाई सम्राटको रूपमा हेर्ने पनि छन् ।
चीन अहिले अमेरिकाको छेउछाउमा नरहेका राष्ट्रहरूसंँग सम्बन्ध बढाइरहेछ । एसिया प्रशान्त क्षेत्रमा जापान, अष्ट्रेलिया, रूस र भारत पनि आ–आफ्ना भूमिकामा छन् । एसियाका सम्पूर्ण जनसंख्यामा १ अर्ब ४० करोडमात्रै चीनको हो । सन् ३० सम्म एसिया प्रशान्त क्षेत्रबाट अमेरिकालाई पछाडि धकेल्न चाहन्छ भने सन् ५० सम्म विश्व व्यवस्थाको दाबेदार बन्छ । अहिले चीनले अमेरिकासँग खोजेको भनेको मुख्य शक्तिराष्ट्रको सम्बन्ध मात्र हो । अहिले नयाँ शीतयुद्धको हल्ला सोभियत संघसँग चीनको तुलना गरेर अमेरिकीहरूले गरिरहेका छन् । तर चीन र अमेरिका बीचको द्वन्द्व मुख्य रूपमा व्यापार र प्रविधिमा केन्द्रित छ । चीनले बजार र अर्थतन्त्र र विज्ञान प्रविधि पश्चिमबाट लिएको हो । उदार विश्वको एजेन्डालाई नमान्ने चीनले पक्कै पनि अहिले विश्वमा उदार प्रजातन्त्रको क्षयबाट सन्तुष्टि लिएको हुनसक्छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको उदयपछि स्वकेन्द्रित र रैथाने अमेरिका बनेपछि चीनले भूमण्डलीकरणको वकालत गरेको छ । पश्चिमी सभ्यताको स्रोत ग्रीक दर्शन, युरोपको प्रबोधन क्रान्ति र पुनर्जागरणको काल हो । जसका वैश्विक मान्यता र संस्कृति छन् । तर चीन एसियामा केन्द्रित शास्त्रीय कन्फुसियाली चिन्तनको राष्ट्र हो । विश्वमा अरु इस्लाम, हिन्दु र अफ्रिकी सभ्यता पनि छन्, तसर्थ चीनको उदयको नाममा दुवै पक्षबाट अतिशयोक्ति विचारहरू
प्रकट हुँदै आएका छन् । सन् १९७२ मा राष्ट्रपति
रिचर्ड निक्सनका बेइजिङ भ्रमणका योजनाकार हेनरी किसिन्जरले भने अनुसार चीन र अमेरिका दुवै विश्व व्यवस्थाका दाबेदार देखापर्छन् ।
संसारभर अहिले उदारवादीहरू रक्षात्मक अवस्थामा पुगेका छन् । अमेरिका र बेलायतमा लोकप्रियतावादको उदयले युरोप, ल्याटिन अमेरिकाको ब्राजिल र दक्षिण एसियाको भारतमा प्रभाव पारेको छ । करिब ४० वर्ष अघिको नवउदारवादीको विजयले स्थापित गरेका राजनीतिक, आर्थिक पद्धति विरुद्ध जनमत तयार भएको छ । युरोपीय युनियन ब्रेक्जिटसँंगै धरापमा परेको छ । यस्तो अवस्थामा सभ्यतागत राष्ट्रको हवाला दिने चीनको मोलतोल
बढिरहेको छ । उदार विश्वको सैनिक गठबन्धन नेटोको सान्दर्भिकतामाथि प्रश्न उठेको छ । फ्रान्सका राष्ट्रपति इम्यानियोल म्याक्रोनले हालै नेटोलाई ब्रेन्डेड भने । नेटोको स्थापनाको ७० वर्षको सम्मेलन भर्खरै सकियो । उक्त सम्मेलनले चीन नयाँ खतरा र चुनौती रहेको निष्कर्ष निकाल्यो । ट्रम्प विश्व मामलामा पछाडि फर्किरहेका छन्, सायद यसैकारणले होला, वर्तमानलाई इतिहासकारहरूले अनिश्चयको युग भनेका छन् । पश्चिमी मान्यता अनुरुपको भन्दा सभ्यतागत राष्ट्र भन्ने चीनको के वैश्विक अपिल छ ? वा त्यो चीन विशेषलाई मात्रै हो । यसले नै चिनियाँ विश्व व्यवस्थाको भविष्य तय गर्नेछ ।

विविधा

प्राध्यापकको सुरक्षा

गत मङ्सिर ९ गते देशको पहिलो उच्च शैक्षिक संस्था त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख तथा रसायनशास्त्रका प्राध्यापक प्रदीपबहादुर न्यौपाने विद्यार्थीबाट निर्ममतापूर्वक पिटिए । क्याम्पसले बीएस्सी र बीए शैक्षिक कार्यक्रममा शुल्क बढाएको विरोधमा विद्यार्थीले उनीमाथि आक्रमण गरेका थिए । त्रिभुवन विश्वविद्यालयले २०६५ सालमा नै सम्पूर्ण आङ्गिक क्याम्पसहरूलाई व्यवस्थापकीय निर्णयबाट शुल्क बढाउन निर्देशन दिएको थियो । त्रिविको उक्त निर्देशन अनुसार २/४ वटा आङ्गिक क्याम्पसले मात्र शैक्षिक शुल्क समायोजन गरेका छन् । बाँकीले विद्यार्थी सङ्गठनहरूको दबाबका कारण शुल्क वृद्धि गर्ने जोखिम मोल्ने आँट गरेको पाइँदैन । परिणामस्वरूप त्रिविको आर्थिक दायित्व आङ्गिक क्याम्पसमा प्रतिवर्ष बढ्दै गएको छ । र त्यसको प्रत्यक्ष असर शैक्षिक गुणस्तर र अनुसन्धानमा परेको छ । त्रिचन्द्र क्याम्पस प्रमुखले शुल्क वृद्धिको जोखिम मोलेका कारण विद्यार्थीबाट अमानवीय किसिमले पिटिए । स्मरण रहोस्, त्रिविका सबै आङ्गिक क्याम्पसमा शैक्षिक शुल्क ज्यादै कम छ ।
सिसिटिभी फुटेज तथा मोबाइलमा खिचिएको भिडियोमा विद्यार्थीको हुलले शौचालय गएका प्रमुखलाई ढोकामा कुरेर बाहिर निस्किनासाथ लछारपछार गर्दै हात र खुट्टाले बेस्सरी हान्दै भर्‍याङबाट लडाउँदै क्याम्पस भवन बाहिर निकालेको देखिन्छ । विद्यार्थीले यति अमानवीय र निर्दयी भएर प्रमुखलाई पिटेका छन् कि जसको शब्दमा बयान गर्न गाह्रो छ । क्याम्पस प्रमुखलाई पिटेर डङ्ग्रङ्ग सडकमा विद्यार्थीले पछारेको उक्त भिडियोमा देखिन्छ । सायद यस्तो जङ्गली र उच्छृंखल गतिविधि विश्वका कुनै पनि शैक्षिक संस्थामा भएको छैन । साथै यो घटनाले विद्यार्थी राजनीतिको कारण नेपालमा उच्चशिक्षा सुधार सहज छैन भन्ने सन्देश दिएको छ ।
त्रिविले स्नातकोत्तर तहमा वार्षिक प्रणाली हटाएर सेमेस्टर प्रणाली लागू गरेको भए पनि विदेशी विश्वविधालयको जस्तो सेमेस्टर प्रणालीको अभ्यास नेपालमा लागू हुनसकेको छैन । विद्यार्थी राजनीतिसँग डराएर नेपालका सबै विश्वविद्यालयले आन्तरिक र बाह्य परीक्षा भनेर सेमेस्टर प्रणालीको नौलो प्रयोग गरिरहेका छन् । सेमेस्टर प्रणालीको आत्मा भनेको विद्यार्थी केन्द्रित शिक्षण र मूल्याङ्कन हो । तर जब विद्यार्थी प्राध्यापक कुटपिटमा ओर्लिन्छन्, तब कुनै शैक्षिक संस्था व्यावहारिक सेमेस्टर प्रणाली लागू गर्ने जोखिम लिन तयार हुँदैनन् । जसको कारण उच्चशिक्षाको गुणस्तरमा सम्झौता हुँदै आएको छ ।
विगतमा जस्तै यसपटक पनि वार्षिक शुल्क वृद्धिको विद्यार्थी सङ्गठनहरूले विरोध गर्ने सम्भावना देखेर नै होला, क्याम्पस प्रमुख न्यौपानेले अघिल्लो दिन नै प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन भनेका रहेछन् । घटना भएको दिन बिहान प्रहरीले सुरक्षा व्यवस्था राम्रो छ भनेकाले न्यौपाने क्याम्पस गएका रहेछन् । तर क्याम्पसमा सुरक्षाको व्यवस्था केही पनि थिएन । क्याम्पस प्रमुखको आग्रह अनुरूप सुरक्षा व्यवस्था गरिदिएको भए यो हदसम्मको मानवता विरोधी घटना हुने नै थिएन । त्रिचन्द्रमा विगतमा पनि पटक–पटक विद्यार्थीले प्राध्यापक पिट्ने र पछि घटनालाई मेलमिलापमा टुङ्गाउने बानी प्रहरीलाई परेको देखिन्छ । शुल्क वृद्धिको विरोधस्वरूप उक्त दिन नेपाल विद्यार्थी सङ्गले क्याम्पस प्रमुखको कार्यकक्षमा बिहान ८ बजे नै ताल्चा लगाएको रहेछ । क्याम्पस प्रमुखलाई कुटपिट गर्ने काम साढे ११ बजेतिर अनेरास्ववियुको नेतृत्वमा भएको रहेछ । उक्त घटनामा प्रहरीले त्रिचन्द्रका अनेरास्ववियु अध्यक्ष लगायत ३ जनालाई हिरासतमा लिए पनि हाल उनीहरू हिरासतमुक्त भइसकेका छन् ।
शुल्क वृद्धिको निर्णय पनि फिर्ता भइसकेको छ । वास्तवमा त्रिचन्द्रमा यसरी प्राध्यापकहरू पिटिँदै आएको दुई दशक भइसकेको रहेछ । माइक्रोबायोलोजी विभागमा एक शिक्षक विद्यार्थीबाट केही वर्षअघि पिटिएछन् । रसायनशास्त्रको प्रयोगात्मक परीक्षामा गार्ड बसेका एक उपप्राध्यापक पनि केही समयअघि पिटिएछन् । विगतमा सहायक क्याम्पस प्रमुख र क्याम्पस प्रमुख पिटिएको घटना त अनगिन्ती रहेछन् । तर यी सबै घटना ढाकछोप र मेलमिलापमा टुङ्गिदै आएको रहेछ । प्राध्यापकलाई विद्यार्थीले कुटपिट गरेको जघन्य अपराधको फाइल यसरी मेलमिलापमा टुङ्गाउँदा प्राज्ञिक क्षेत्रमा गलत नजिर स्थापित भएको छ । नेपाल प्रहरीले राजनीतिक दबाबमा प्राध्यापक पिटिएको घटनालाई ढाकछोप गर्दा सम्पूर्ण प्राज्ञिक जगतको शिर निहुरिएको छ भने नेपाल प्रहरीको पेसागत इमानदारितामा गहन प्रश्न उठेको छ ।
हाल त्रिचन्द्रमा ४० जना विद्यार्थीको क्षमता भएको विज्ञानको प्रयोगशालामा दुई सय जनाले अध्ययन गरेको तथ्य सजिलै भेटिन्छ । प्रयोगशालाहरू उपकरणविहीन छन् । बीएस्सीका विद्यार्थीले पाठ्यक्रम अनुसार १० प्रतिशत पनि प्रयोगात्मक ज्ञान हासिल गर्नसकेका छैनन् । नियमित क्याम्पस जाने विद्यार्थीले पनि बागबजारको कोचिङ सेन्टरमा नपढी पास गर्न सक्दैनन् । तर विडम्बना, विद्यार्थी सङ्गठनहरू त्यस्ता विषयलाई शैक्षिक मुद्दा बनाउन असफल छन् । उल्टो बीएस्सीको प्रयोगात्मक परीक्षामा विद्यार्थीलाई बढी नम्बर दिन पनि ती सङ्गठनहरूले शिक्षकलाई दबाब दिने रहेछन् । विडम्बना, विद्यार्थीबाट पिटिइने डरले प्राध्यापकहरू पनि गलत किसिमले प्रयोगात्मक परीक्षामा नम्बर दिन पछि पर्दैनन् । कक्षामा विद्यार्थीलाई प्राध्यापकले सिकाउने क्रममा केही भन्न सक्ने स्थिति छैन । सही सुझावलाई पनि गलत अर्थ लगाएर विद्यार्थी नेताबाट पिटिने डरले उनीहरू चुपचाप छन् । देशको सबैभन्दा ठूलो क्याम्पसमा यस्तो कहालीलाग्दो स्थिति भएपछि गुणस्तरीय शिक्षाको अपेक्षा गर्नु निरर्थक छ ।
सधैं ससाना विषयमा समेत नाराबाजी र जुलुस हुने देशमा त्रिचन्द्रका प्राध्यापकहरू पटक–पटक पिटिँदा पनि मौनता छाएको छ । द्वन्द्वकाल होस् वा शान्तिकाल शैक्षिक संस्थामाथि आक्रमण गरिनु हुँदैन भन्नेहरू प्राध्यापक पिटिँदा मौन छन् । अन्यत्रको कुरै छाडौं, त्रिचन्द्रकै प्राध्यापकहरूसमेत बोल्नसकेका छैनन् । यो घटनापछि अब प्राध्यापकहरू कसरी र कुन आत्मविश्वास बोकेर कक्षाकोठामा प्रवेश गर्लान् ? एउटा क्षमतावान प्राध्यापकले हरेक प्रकारको दुःखकष्ट सहन सक्छ । तर आफ्नै विद्यार्थीबाट अपमानित भएको कदापि सहन सक्दैन । दुःखद पक्ष, देशका ठूला दैनिकहरूमा पनि यो समाचारले प्रमुख स्थान पाएन । अधिकारका वकालत गर्न खोलिएका संस्थाहरूले एउटा प्राध्यापकको पनि सुरक्षित रूपले पढाउन पाउने र बाँच्न पाउने अधिकार हुन्छ भन्ने बुझेनन् ।
त्रिचचन्द्रको बीएस्सीमा पहिलो वर्षका विद्यार्थी चौथो वर्ष पुग्दा पढाइ छाड्ने क्रम तीव्र देखिएको छ । करिब ४० प्रतिशत विद्यार्थीले मात्र पढाइ पूरा गर्छन् । यस क्याम्पसमा बीएस्सीमा दक्षिण एसियामा नै सबैभन्दा बढी अर्थात् १८ वटा फरक समूह (विषय) मा अध्ययन–अध्यापन हुने गरेको छ । त्रिविले उक्त १८ वटा फरक बीएस्सीको समूहमा विद्यार्थीको निश्चित कोटा निर्धारण गरेको छैन । जसको कारण प्रयोगशालादेखि सैद्धान्तिक कक्षासम्मको पढाइ प्रभावित भएको देखिन्छ । विश्वविद्यालय अनुदान आयोगको एक अध्ययन समितिको प्रतिवेदन अनुसार त्रिचन्द्रमा बीएस्सी शैक्षिक कार्यक्रमको क्षमता एक हजारभन्दा बढी छैन । तर कुनै समय यहाँ चार हजारभन्दा बढी विद्यार्थी भर्ना भएको पाइन्छ । विद्यार्थी राजनीतिको चरम दुरुपयोग हुँदै आएको त्रिचन्द्रमा त्रिविले बीएस्सीमा पच्चिस सय विद्यार्थीको कोटा तोकेको छ । त्यतिबेला यसरी अवैज्ञानिक किसिमले त्रिविले कोटा नतोकेको भए सायद त्यतिबेलाका विज्ञान संकायका डिन पनि पिटिन्थे होलान् ?
यस क्याम्पसमा आंशिक शिक्षकको संख्या डरलाग्दो छ । करिब दुई सय आंशिक शिक्षक विज्ञानतर्फ मात्र भएको अनुमान छ । त्यति हुँदा पनि बायोकेमेष्ट्री, न्यानो प्रविधि, बायोटेक्नोलोजीसँग सम्बन्धित नयाँ कोर्स पढाउने शिक्षकको चरम अभाव छ । बीएस्सीमा प्राणीशास्त्र, वनस्पतिशास्त्र र माइक्रोबायोलोजीमा पाठ्यक्रम अनुसार मलिक्युलर बायोलोजीको सैद्धान्तिक र प्रयोगात्मक शिक्षण गुणस्तरहीन छ । यस्ता समस्यामा विद्यार्थी सङ्गठनले चासो देखाएको पाइँदैन । त्रिचन्द्रमा आम्दानी र खर्चबीच पनि गहिरो अन्तर छ । विगत एक दशकदेखि विद्यार्थीको शुल्क समायोजन हुन नसकेकोले हाल त्रिचन्द्र ६ करोड रुपैयाँ घाटामा रहेको सुनिन्छ । यसबाट के प्रस्ट हुन्छ भने पछिल्लो समय शैक्षिक रूपमा मात्र होइन, त्रिचन्द्र कलेज आर्थिक रूपले पनि धराशायी हुँदै गएको छ ।
अन्त्यमा, त्रिविले आङ्गिक क्याम्पसमा विद्यार्थी भर्नाको कोटा निर्धारण गर्न नसक्नु, विज्ञानका प्रयोगशाला सुधारमा सार्थक प्रयास नगर्नु र वैज्ञानिक उपकरण खरिदमा चासो नदेखाउनु गलत हो । क्षमता अनुसार त्रिचन्द्रमा अब बीएस्सीको कोटा एक हजारमा सीमित गर्नुपर्छ । क्याम्पस प्रमुख लगायत अन्य प्राध्यापकहरू पिटिएको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले तत्काल छानबिन गर्नुपर्छ । र पटक–पटक भएका यस्तो घटनालाई ढाकछोप गर्ने मतियार र नेपाल प्रहरीलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ । त्रिचन्द्रमा बीएस्सीको प्रयोगात्मक कक्षा र परीक्षा सम्बन्धमा त्रिविले विशेष संयन्त्र बनाएर गुणस्तरको सुनिश्चितता गर्नुपर्छ । र प्राध्यापकको मनोबल गिर्ने र गलत नजिर स्थापित हुने घटनाले उच्चशिक्षा सुधार उन्मुख हुँदैन । त्यसैले विद्यार्थी र प्राध्यापक बीचको सम्बन्धमा हार्दिकता कायम गर्न दुवै पक्षका गलत आचरणलाई नियन्त्रण गरी मर्यादित बनाउन सरकारले छुट्टै ऐनको तर्जुमा गर्नुपर्छ ।
पराजुली त्रिवि रसायनशास्त्रका प्राध्यापक हुन् ।

विविधा

छोरी कि छोरा ?

- डा. अजय रिसाल

‘छो री कि ‘छोरा’ ? एक महिनायता आत्मीयजन, बन्धुबान्धव, छरछिमेक अनि साथीसंगीका यही प्रश्नको उत्तर दिने क्रम चलिरहेछ, मेरो जीवनमा । बाटाघाटा, प्रत्यक्ष भेटघाट, फोन, मेसेन्जर, भाइवर, इ–मेलमा .........।
हुन त यो प्रश्न मेरी श्रीमतीको गर्भ रहेको थाहा भएदेखिकै हो । गर्भवतीको नियमित स्वास्थ्य जाँचका लागि अल्ट्रासाउन्ड (प्रचलित भाषामा भिडियो एक्सरे) महत्त्वपूर्ण हो । गर्भावस्थाकी महिलाको शारीरिक अवस्थामात्र नभई गर्भभित्र हुर्किरहेको भ्रूण वा शिशुको अवस्था जान्न पनि गर्भावस्थामा कम्तीमा तीनपटक यो परीक्षण अपरिहार्य नै हुन्छ । हाम्रो जनमानसमा भिडियो एक्सरे भनेको बच्चाको लिंग पहिचानका लागिमात्रै हो भन्ने भ्रम कायमै रहँदा, अझ ‘यो डाक्टरले त त्यो थाहा नपाई कसरी बस्यो होला र ?’ भन्ने सामान्य चेतनाका कारण पनि मानिसहरू मलाई सोध्ने गर्थे, ‘यसपालि छोरी छ कि छोरा ?’ पहिलो सन्तानको बेलामा पनि यस्तै प्रश्नहरूले घेरिने गर्थें म आजभन्दा करिब ७ वर्षअघि । पहिलो सन्तान ‘छोरी’ भएपछि त झन् अब त एउटा ‘छोरो’ नै चाहिन्छ भनेर सल्लाह दिनेहरूको पनि कमी थिएन, कमी हुँदैन पनि हाम्रोजस्तो समाजमा ।
वास्तवमा अल्ट्रासाउन्डबाट लिंग पहिचान मेरो चासोको विषय कहिल्यै रहेन, पहिलो बच्चाको पालामा पनि र यसपालि पनि । आफ्नै पारिवारिक इतिहासका कारणले पनि हुनसक्छ या अरु कुनै कारणले पनि होला, छोरा हुने हो कि छोरी भन्ने कौतुहल कहिल्यै पनि भएन । न त वर्ष पहिले, न अहिले नै । साथीहरू नै रेडियोलोजिस्ट रहेका अनि तिनले यसको छनक दिने प्रयास गरेका भए पनि त्यसमा गहिरो चासो भने कहिल्यै लिइएन । अझ एउटा ‘छोरो’ त चाहिन्छ नै’ भनेर अल्ट्रासाउन्डलाई त्यसको हतियार बनाउने अपराध–चिन्तन त हामी दुवैको मानसपटलमा कहिल्यै रहेन, रहन पनि हुँदैन ।
यी प्रश्नहरूले हामी दुई बुढाबुढी मात्र प्रताडित भएका भने होइनौं । हाम्री ६ वर्षे छोरीलाई समेत ‘तिम्रो मामुको पेटमा भाइ छ कि बहिनी ?’ भनेर प्रश्न तेर्स्याउने पनि धेरै थिए । अझ उसको मामु अस्पतालबाट घर आएपछि त बाटामा भेटिएका उसलाई चिन्ने छिमेकी अनि साथीसंगीहरूले धरि ‘भाइ आयो कि बहिनी ?’ भनेर कति दिन त हैरानै पारेका थिए । पछिपछि त विरक्तिएर जे भए पनि के भयो र ? मलाई त बहिनी नै मनपर्छ.. भन्न थालेकी थिई, मेरी सानी छोरी ।
माथि उल्लेखित प्रश्नमा ‘छोरी जन्मिई’ भन्ने उत्तर पाउँदा प्रौढावस्थाका महिलाहरू (आमा समूह) ले अलिकति नराम्रो मानेको अनुभव भयो । कसैले भने ‘ए ! भन्दै लामो सुस्केरा हालेको, अरु कसैले चाहिँ ठिक्कै भयो नि ! अर्की महालक्ष्मी आई घरमा...भनेर प्रतिक्रिया दिएको पाइयो । कोही भने मुखै फोरेर ‘अब त छोरो भइदिएको भए पनि हुने ....’, ‘फेरि दुःख पाउनुपर्ने भयो...’ भन्ने पनि निस्किए । सबै आत्मीयजनले हामीप्रतिको स्नेहकै कारण त्यसो भनेका हुन् भन्ने कुरामा अन्यथा किमार्थ छैन । तर ‘छोरीहरू मात्रको मातापिता’ हुँदैमा त्यसरी पीरै मान्नुपर्ने, चिन्तै गर्नुपर्ने, माया नै पोखिनुपर्ने अचेतना (अन्धविश्वास नै त नभनौं) ले भने अझै पनि हाम्रो समाजलाई गाँजिरहेको यथार्थ भने यस्तै प्रसंगहरूले छर्लंग्याउँछ । अझ त्यस्तो पीर, चिन्ता,
अप्ठ्यारोपन पुरुष वर्गमा भन्दा महिलावर्ग (मातृसमूह) मा ज्यादा झल्किएको पाउँदा भने साह्रै नमज्जा लाग्छ मलाई । यस्तो अनुभव हामीजस्ता अन्य छोरीमात्रका मातापिताहरूले पनि व्यक्त गरेका छन् ।
हाम्रो समाज आधुनिकता (?) तिर लम्किरहेछ । पुराना सोच अझ धार्मिक–सांस्कृतिक पक्षलाई रुढीवाद–अन्धविश्वासको बिल्ला ओडाइदिन पछि नपर्ने हामी आधुनिक कहलिएका अनि शिक्षित नै भएका वर्गसमेत अझै पनि ‘छोरो’कै आवश्यकताको पैरवी गरिरहेको देख्दा अचम्मित नै हुन्छु, म कहिलेकाहीं त । ‘एउटा छोरो त चाहिन्छ नै’ भन्ने भ्रम कसैगरी फालिनसकेको रहेनछ, हाम्रो समाजबाट ।
‘छोरो नभएमा मरेपछि पिण्डपानी पाइँदैन’ भन्ने कथन कति वास्तविक रहन सक्ला यो समाजमा अहिले ? ‘छोरैछोरा’ नै भएर पनि पिण्डपानी नपाएका पितृहरू समाजमा छैनन् र ? अनि ‘छोरी’ मात्र हुँदा पनि सबै किरियाकर्म गर्ने चलन चलिसकेको होइन र आजको समाजमा ? यी त भए मरेपछिका कुरा । ‘मरेपछि डुमै राजा’ भनेर यी कुरालाई अहिलेलाई छाडिदिए पनि भो ।
तर ज्युँदैमा पनि छोरैछोरा भएका बाबुआमाहरूसमेत कोही रुँदै वृद्धाश्रममा बसेका अनि कोही भने सबै परिवार त्यागेर देवघाट पुगेका समाचार दैनन्दिन भइरहेका छैनन् र अचेल ? सबै ‘छोरा’ विदेशमा पुगेर औषधिपानी गर्नका लागि ‘छोरी’ अनि ‘छिमेकी’ गुहार्नुपर्ने अवस्था पनि विद्यमान छ, धेरै घरहरूमा आजकाल । अतः भविष्यका लागि अनि मरेपछिका लागि भनेर ‘छोरो’ नै चाहिन्छ भन्ने चिन्तन त्याग्नु अपरिहार्य नै भइसकेको छ । अनि परिवार एवं समाज चलाउनका लागि ‘छोरो’ या ‘छोरी’ नभनी ‘असल सन्तान’को कामना गर्नुपर्ने समय हो यो ।
अझ छलफलका क्रममा तिहारको भाइटीकाका लागिमात्र भए पनि एउटा छोरो त चाहिन्छ नै भन्ने विचार पनि आउँछ, यदाकदा । के हाम्रो समाजमा दाजुभाइ भएका दिदीबहिनीहरूको पनि निधार खाली भएको दृष्टान्तहरू छैनन् र ? एउटा भाइ जन्मिए पनि ऊ दिदीबहिनीहरूसँग टीका लगाउनकै लागि विदेशै (या कतै पनि) नगई परिवारमै बस्ला भन्ने कामना गर्न सकिने समय या अवस्था छ र अहिले ?
यी सबै भ्रम अनि नचाहिँंदा तर्कले नारीवादीहरूले भन्ने गरेझैं ‘पितृसत्ता’को अवशेष अझै पनि समाजमा जोगाइरहने बाहेक अरु केही पनि गर्दैनन् । तर विडम्बना ! यसमा पुरुषहरूभन्दा नारीहरूकै हात बढी हुने गर्छ ।
हाम्रो धर्मसंस्कृतिलाई पितृसत्तावादी भन्नेहरूलाई अझै पनि चुनौती दिन चाहन्छु म । वैदिककालदेखि नै आमाहरूले नै सञ्चालन गर्ने गरेको हाम्रो घरपरिवार कदापि पितृसत्तात्मक थिएन । दुर्गा, कालरात्रि, लक्ष्मी, सरस्वतीलाई पुज्ने हाम्रो संस्कृति कहिल्यै नारीहरूको विरोधमा छैन । जानकी, गार्गी, मैत्रेयी, याज्ञसेनीहरू जन्माउने हाम्रो समाज सधैं नारीपूजक नै थियो र छ पनि । दसैंमा पुज्न कन्या नै खोज्नुपर्ने हाम्रो संस्कृतिमा छोरा त नभई हुन्न भन्ने चिन्तन कहाँबाट आएको होला ? अनि कसरी चिरस्थायी रहनसकेको होला, यो अन्धविश्वास ?
दुई छोरीको पिताको क्लबमा आबद्ध भएपछि एक महिना यताका मेरा निजी चिन्तन यिनै शब्दहरूमार्फत पोखेर अहिलेलाई भने पूर्णविराम लगाउन चाहन्छु ।
रिसाल धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ हुन् ।

 

Page 7
विविधा

दस्तावेजी लेखन

सिउँडी
- विमल निभा

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जोडीदार अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको दस्तावेज लेख्नुपरेमा कुनै खास रिसोर्टतर्फ अविलम्ब प्रस्थान गर्ने गर्छन् । उनको परम जनवादी दस्तावेजी लेखनको यो विशुद्ध मौलिक शैलीले मलाई खुबै आकर्षित गर्ने गरेको छ ।
पहिले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को एकमात्र अध्यक्ष हुनेताका कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो यही सदावहार दस्तावेजी लेखनको छाँटछन्दलाई पूरै प्रतिबद्धताका साथ पछ्याउने गर्थे । यसका निम्ति उनी आफूसँग एक अदत ब्रान्डेट कलम (अथवा केहीपछि कुनै नामी कम्पनीको दामी ल्यापटप), केही नोट गरिएका एवं पूरै सादा कागजपत्र र एक–दुई नितान्त प्राइभेट किसिमका सहायक कमरेडहरूसँग धुलिखेल रिसोर्टतिर सोझै लाग्ने गर्थे । अथवा कुनै विशेष नगरकोटीय रिसोर्ट नै भन्नोस् । यसको विकल्पमा अन्य कुनै राजधानी काठमाडौंबाट समीप या थोरै टाढाको रिसोर्ट पनि हुनसक्छ । (अहिले मैले ती नामुद रिसोर्टहरूका नाम बिर्सें) । अ त यही सन्दर्भमा मेरो अध्यक्ष कमरेड प्रचण्डसँग चरम उत्सुकता सहितको प्रश्न के हो भने रिसोर्टीय वातावरणमा पार्टीको दस्तावेज लेख्दा के कुनै नवीन प्रकारको क्रान्तिकारी आयाम थपिने गर्छ ? त्यसो हो भने मेरो अध्यक्ष कमरेड प्रचण्डसँग व्यक्तिगत आग्रह के छ भने यही सिलसिलामा एकाध थप प्रयोग किन नगर्ने ? जस्तो एकपल्ट रिसोर्टको साटो कुनै होटलमा पनि दस्तावेजी लेखनको जीवन्त अभ्यास गर्न सकिन्छ ।
‘होटलमा रिसोर्टजस्तो मजा हुन्छ त ?’ एकाएक एउटा प्रश्न मछेउ उभिएको छ ।
‘कुनै सामान्य होटलको होइन ।’ म नै भन्छु, ‘म त स्टार होटलको कुरा गरिरहेको छु ।’
‘स्टार होटल ?’
‘हो, फाइभ स्टार होटल ।’
‘के फाइभ स्टार होटलमा गएर अध्यक्ष कमरेड प्रचण्डले दस्तावेज लेखन गर्ने ? प्रश्न चालु छ ।
‘म त्यही त भनिरहेको छु ।’ म जोड दिएर भन्छु ।
हामीकहाँ वान स्टार होटलदेखि लिएर फाइट स्टारसम्मका शानदार होटलहरूका कुनै अभाव रहेको छैन । कुनै–कुनै स्टार होटलको चरम विलासीपन हेरेर त केवल एक, दुई, तीन, चार, पाँच आदि अर्थात फाइभ स्टार हो भन्नमा पर्याप्त शंका उत्पनन हुनसक्छ । के फाइभ स्टारभन्दा माथिको होटलको अस्तित्व हुने गर्दैन ? मेरो तात्पर्य के भने स्टार गणनामा कुनै त्रुटि भएको पनि त हुनसक्छ । जे होस्, एकचोटी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय ख्यातिको फाइभ स्टार होटल सोल्टी ओबेराय होटलमा पनि आफ्नो दस्तावेजी लेखन गरेर किन नहेर्ने ? अथवा यही स्तरको अर्को फाइभ स्टार होटल डेला अन्नपूर्ण (यही नाम हो क्यारे !) पनि दरबारमार्गमा खडा रहेको छ । हो, त्यहाँ गएर पनि अध्यक्ष कमरेड प्रचण्ड सहजतापूर्वक पार्टीको जनतान्त्रिक दस्तावेज तयार गर्न सक्छन् । यही हिसाब–किताबले यी होटलद्वयलाई सशक्त चुनौती प्रदान गर्ने अरु अरु सुविधासम्पन्न होटलहरू पनि राजधानी काठमाडौं वरपर नभएका होइनन् । उदाहरणका लागि याक एन्ड यति होटल, एभरेस्ट होटल, क्राउन प्लाजा होटल, साङ्ग्रिला होटल, रेडिसन होटल, द्वारिका होटल, मल्ल होटल, ह्यात रिजेन्सी होटल, सहेन्साह होटल (अरु ठूलठूला होटलहरूका नाम आफैं थप्दै जानोस्) इत्यादि । हेर्नोस्, यी सबै स्टार होटलहरूमा पालैपालो विश्राम गरेर अध्यक्ष कमरेड प्रचण्डले दस्तावेज लिपिबद्ध गरेमा हामी त्यसको अर्थात् फरक–फरक होटलका फरक–फरक दस्तावेज) तुलनात्मक अध्ययन गरेर हेर्न सक्नेछौं । यसले के अतिरिक्त लाभ हुनेछ भने जुन स्टार होटलमा बसेर लेखिएको दस्तावेजमा बढ्ता क्रान्तिकारी एवं जनवादी भावनाको ‘टच’ हुनेछ, त्यसैलाई प्राथमिकतामा राखेर सदाकालका निम्ति अपनाउन सकिनेछ ।
मलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यो रिसोर्टीय लेखनले ज्यास्ती नै प्रभावित गरेकोले एकदिन एकाएक निर्णय गरेंँ– म पनि कुनै आरामदायी रिसोर्टमा बसेर कविता लेख्नेछु । मेरो एक मित्रको चिनारुको दामनमा रिसोर्ट भएकोले मलाई यो सुविधाको झट्ट प्राप्ति भयो । र मैले त्यहा गएर कविता लेखेर हेरेंँ । मेरो अनुभव भने अध्यक्ष कमरेड प्रचण्ड सरह सुखद रहेन । किनभने त्यहाँ लेखिएका मेरा तमाम कविताहरूलाई कुनै पनि साहित्यिक पत्रपत्रिकाले छाप्न योग्य ठानेनन् । त्यसउसले ती कविता अप्रकाशित अवस्थामै रहेका छन् ।

विविधा

कक्षाकोठामा प्रश्नको भय

- मेदिनबहादुर लामिछाने

 

होमो सापियन्स (बुद्धिमान मानिस) लाई गुफा युगबाट आजको परिस्कृत आधुनिक युगमा ल्याउने मुख्य तत्त्व भनेकै उसको प्रश्न गर्न सक्ने गुण हो । यदि उसले प्रश्न गर्न सक्दैनथ्यो भने आज पनि हामी उही गुफे शैलीको जीवनयापन गरिरहेका हुने थियौं । होमो सापियन्सको यही प्रश्न गर्न सक्ने कौशलले नै आज हामी यहाँसम्म आइपुगेका हौं । संसारमा जति पनि आविष्कार भएका छन्, ती आविष्कारका जननी प्रश्नहरू नै हुन् ।
कुनै विषयको सूचना र तथ्यले त्यो विषयवस्तु बोध गर्न मद्दत गर्छ । तर नयाँ ज्ञान निर्माण गर्न र नयाँ चिजको आविष्कार गर्न प्रश्न नै चाहिन्छ । बिना प्रश्न र खोज नयाँ कुराको आविष्कार र ज्ञान निर्माण सम्भव छैन । सूचना र तथ्यहरूले त सहयोगी भूमिकामात्र निभाउने हुन् । जेम्स वाटले केतलीको बिर्कोलाई वाफले किन धकेल्यो होला भनी प्रश्न नगरेको भए सायद उनले वाष्प इन्जिनको आविष्कार गर्न सक्ने थिएनन् । रुखबाट स्याउ किन खस्यो भनी सर आइज्याक न्युटनले प्रश्न नसोधेको भए उनले गुरुत्वाकर्षण सम्बन्धी विज्ञानको सिद्धान्त पत्ता लगाउने थिएनन् । चरा कसरी उड्न सक्यो भनी ओट्टो लिलियन्थलले प्रश्न नगरेको भए आज आकाशमा मानिस वायुयानमा कसरी उड्न सक्थे ? प्रश्नले मानिसलाई विषयवस्तु गहिराइमा बुझ्न र उत्तर खोज्न प्रेरित गर्छ । प्रश्नको उत्तर खोज्दा नयाँ–नयाँ आविष्कार र ज्ञान निर्माण हुँदै जान्छ ।
एउटा शिक्षक कक्षाकोठामा प्रवेश गर्छन्, विद्यार्थीलाई नयाँ विषयवस्तु र आवश्यक सीप पस्कन्छन् । त्यसपछि सदाझैं एउटा प्रश्न सोध्छन्, ‘तिमीहरूको केही प्रश्न छन् ?’ प्रायः शिक्षकले पाउने उत्तर एउटै हुन्छ– कक्षाकोठामा मौनता वा सन्नाटा । शिक्षकलाई पनि थाहा छ, यतिका विषयवस्तु र सीप सिकाउँदा सबैले उही स्तरमा सिक्न सक्दैनन् । विद्यार्थीहरूलाई पनि थाहा छ, उनीहरूले विषयवस्तु बुझेका छैनन् । मनमा प्रशस्त प्रश्न भए पनि मुखबाट ती प्रश्न किन बाहिर आउँदैनन् ? नबुझेका, नजानेका र द्विविधा भएका विषयहरू हुँदा हुँदै पनि किन विद्यार्थीहरू प्रश्न सोध्न सङ्कोच मान्छन् ? किन प्रश्न सोध्न डराउँछन् ? प्रश्नदेखि विद्यार्थीमा किन यत्रो भय र त्रास ? मनमा द्विविधा, सन्देह, शङ्का, कौतुहल, जिज्ञासा र थप जान्ने इच्छा हुँदा पनि हाम्रा विद्यार्थी त्यसलाई व्यक्त गर्न सक्दैनन् । मैले सोध्दा अरुले के भन्लान् भन्ने डर विद्यार्थीमा रहेको पाइन्छ । अरुले त सोधेका छैनन्, मैले मात्र किन सोध्नु भन्ने सोचले जरा गाडेको पाइन्छ । हामीले विद्यार्थीलाई प्रश्न सोध्न सक्ने सीप सिकाउन नस्कनुमा हाम्रो शिक्षा प्रणाली र सोचमा कहीं न कहीं समस्या छ ।
हामीले विद्यार्थीलाई सूचना र तथ्यहरूले सुसज्जित बनायौं, तर प्रश्न सोध्न सक्ने बनाएनौं । सूचना र तथ्यहरूले कुनै विषयमा जानकार मात्र बनाउँछ । सोचको विकास गराउँदैन । हामीले विद्यार्थीलाई एक्काइसौं शताव्दीको वैश्विक नागरिक बन्न सूचना र तथ्यहरूले मात्र सुसज्जित बनाउने होइन । उनीहरूमा ज्ञान निर्माण गर्न, सिर्जनात्मकता र रचनात्मकता विकास गराउन प्रश्न सोध्न सक्ने बनाउने हो । मानिसमा सोचको विकास गराउन प्रश्न चाहिन्छ । हाम्रा कक्षाकोठामा प्रश्न र खोज हराइरहेका छन् । प्रश्न र खोजको कक्षाकोठामा बलियो उपस्थिति नभएसम्म ज्ञान निर्माण, सिर्जनात्मकता र रचनात्मकता विद्यार्थीमा विकास गराउन सकिँदैन ।
कक्षाकोठामा प्रश्न सोध्न डर उत्पन्न गराउने तीन मुख्य कारण भनेका विद्यार्थीको आफ्नै लाज, सहपाठी साथी र शिक्षक हुन् । हाम्रा अधिकांश विद्यार्थीहरूमा सामाजिक सीप र सञ्चार कौशल कमी देखिन्छ । यही कारणले विद्यार्थीहरूले अरुको आगाडि बोल्न र प्रश्न सोध्न धक मान्छन्, लाज मान्छन् । अरुले केही भन्छ कि भन्ने लाज, आफूले बोल्दा बिग्रन्छ कि भन्ने लाज, सोधेको प्रश्न र भनेको कुरा विषयभन्दा बाहिर जान्छ कि भन्ने डर र लाजले विद्यार्थीले प्रश्न गर्न सकिरहेका छैनन् । कुनै विद्यार्थीले प्रश्न सोध्यो भन्नुको मतलब उसले पढाइएका विषयवस्तु बोध गर्न सकेन, विद्यालय शिक्षाको आम बुझाइ यही हो । कोही पनि मानिस अरुको आगाडि नजान्ने, नबुझ्ने बन्न चाहँदैन । कक्षाकोठामा प्रश्न सोधेर बेवकुफ बन्न कोही तयार हुँदैन । सहपाठी साथीहरूको गलत सोचको कारणले कक्षामा प्रश्न सोध्दा कसैले केही भन्छ कि ? भन्ने डर विद्यार्थीमा जहिल्यै रहन्छ । कक्षाकोठामा खोज र प्रश्नलाई सम्मान गरिएन र प्रोत्साहन दिइएन भने विद्यार्थी प्रश्न सोध्न डराउँछन् ।
शिक्षकले विद्यार्थीको पूर्वज्ञान जाँच्न, पूर्वअनुभव पत्ता लगाउन, विषयवस्तुको बुझाइको स्तर पत्ता लगाउन अनि आफ्नो शिक्षण सुधार्न कक्षाकोठामा प्रश्न सोध्छन् । विद्यार्थीमा के भ्रम छ भने शिक्षकले उनीहरूको मूल्याङ्कन गर्नमात्र प्रश्न सोध्छन् । विद्यार्थीहरूको बुझाइ के छ भने शिक्षकले सोधेका सबै प्रश्नहरू उनीहरूका लागि मात्र हो । शिक्षकहरूले यो कुरा विद्यार्थीहरूलाई बुझाउन सकेका छैनन्, भ्रम चिर्न सकेका छैनन् । यो भ्रम हटाउने प्रयास गरेको पनि देखिँदैन । विद्यार्थीले ‘मलाई थाहा छैन, मलाई आउँदैन, म जान्दिनँ ।’ भन्ने कुरा व्यक्त गर्ने वातावरण सिर्जना गर्नुपर्छ । यस्तो सिकाइ वातावरणले ज्ञान निर्माणमा अवरोध हैन, बाटो खोल्छ भन्ने सोचको विकास गर्नैपर्छ । विद्यार्थीमा यस्तो बुद्धि नआएसम्म ऊ प्रश्न सोध्न र सोधेका प्रश्नको जवाफ दिन जहिल्यै पर सर्छ ।
प्रश्न र विद्यार्थीको सम्बन्ध ज्ञान निर्माण र सीप सिकाइमा एकअर्काका सहयोगी हुन् । तर व्यवहारमा विद्यार्थी र प्रश्नको सम्बन्ध शत्रुतापूर्ण देखिन्छ । प्रश्न र विद्यार्थी सिकाइका विरोधी तत्त्व होइनन् । हाम्रा विद्यार्थीले प्रश्नलाई सिकाइ र ज्ञान निर्माणको तगारोको रूपमा लिएका छन्, जुन सोच हटाउन जरुरी छ । विद्यार्थी र प्रश्नको सम्बन्ध विद्यार्थीलाई मूल्याङ्कन गर्ने कुरासँग सम्बन्धित गरिनु हुँदैन । यसलाई उसको सिकाइसँग जोड्नुपर्छ । प्रश्नको उद्देश्य मूल्याङ्कन गर्ने कुरासँग मात्र सम्बन्धित गरियो भने यसले विद्यार्थीको मनमा डर पैदा गर्छ ।
शिक्षकले कक्षाकोठामा अज्ञानता, भ्रम, सन्देह, द्विविधाको प्रदर्शनलाई सकारात्मक तरिकाले स्वीकार गरी त्यसलाई सहजै ग्रहण गर्ने संस्कार बसाल्नुपर्छ । विद्यार्थीले नजानेको, नबुझेको, भ्रम रहेको, सन्देह भएको विषयवस्तु कक्षाकोठामा प्रश्नको माध्यमले व्यक्त गर्ने वातावरण निर्माण गर्नुपर्छ । उसले
आफ्ना जिज्ञासा, कौतुहलता र थप जान्ने इच्छा बिना हिच्कचाहट गर्वसाथ कक्षामा व्यक्त गर्न सक्ने परिवेश सिर्जना गर्नुपर्छ । कक्षाकोठामा विद्यार्थीले सोधेको प्रश्न हाँसो र मूल्याङ्कनको पात्र भयो भने त्यो सिकाइको लागि प्रत्युत्पादक हुन्छ ।
शिक्षकले विद्यार्थीको पूर्वज्ञान र समझ पत्ता लगाउन, सिकाउने विषय र उनीहरूको समझ बीचको अन्तर पत्ता लगाउन, पढाएको विषयवस्तुको बोध जाँच्न, विषयवस्तु कति गहिराइमा बुझे पत्ता लगाउन प्रश्न सोध्छन् । शिक्षकले आफ्नो शिक्षणको कमजोरी पत्ता लगाउन प्रश्न नसोधी विद्यार्थीको कमजोरीमात्र जान्न प्रश्न गरे भने त्यसले विद्यार्थीलाई प्रश्न गर्न निरुत्साहित गर्छ । शिक्षकले आफ्नो शिक्षण सुधार्न प्रश्न सोध्नैपर्छ । तर त्यसको नकारात्मक प्रभाव सिकारुमा पर्नदिनु हुँदैन । शिक्षकले प्रश्न विद्यार्थीको कमजोरी जाँच्ने उद्देश्यले सोधिदिँदा प्रश्नप्रति विद्यार्थीमा त्रास बढेर जान्छ । विद्यार्थीले प्रश्न गर्ने भनेको आफ्नो विषयवस्तुप्रतिको सन्देह, भ्रम, द्विविधा हटाउन हो । आफ्ना जिज्ञासा र कौतुहल मेटाउन हो । ज्ञान निर्माण गर्न हो । समस्या समाधान गर्न हो । विषयवस्तुमा अझ बढी जानकारी हासिल गर्न हो । जति शिक्षकले प्रश्न गर्छन्, त्योभन्दा बढी प्रश्न विद्यार्थीले गर्नुपर्ने हो । जसले ज्ञानको खोजी गर्नुपर्ने हो, उनीहरूले प्रश्न नै सोध्दैनन् । जसले ज्ञान निर्माण गर्नुपर्ने हो, उसलाई प्रश्न सोध्ने वातावरण नै छैन । हाम्रो कक्षाकोठाको मूल समस्या भनेको यही हो ।
हाम्रा पाठ्य–पुस्तकमा अत्यधिक मात्रामा न्यून संज्ञानात्मक प्रश्नहरू पाइन्छ । न्यून संज्ञानात्मक प्रश्नहरूको उत्तर जति जनालाई सोधे पनि एउटै हुन्छ । यस्ता प्रश्नहरूको उत्तर सही या गलतमात्र हुन्छन् । न्यून संज्ञानात्मक प्रश्नहरू विद्यार्थीले कति सम्झनसके भनी जाँच्न प्रयोग गरिने हुनाले ती प्रश्नहरूले विद्यार्थीलाई घोक्न र कण्ठ गर्न बाध्य पार्छ । यस्ता प्रश्नहरूले विद्यार्थीलाई ज्ञान निर्माण गर्न, सिर्जनात्मकता, रचनात्मकता र नवीनताका लागि डोर्‍याउँदैनन् । विद्यार्थीलाई खालि सूचना र तथ्यमा आधारित न्यून संज्ञानात्मक प्रश्नसँग मात्र खेल्दा विद्यार्थीमा आफूले दिएको उत्तर गलत हुन्छ कि भन्ने डर हुन्छ । उसको ध्यान कसरी सही उत्तर दिने भन्नेमा मात्र केन्द्रित हुन्छ । उत्तर गलत होला कि भनेर ऊ कक्षाकोठामा मौन बस्छ । यही मौनताले उसमा भय र आशङ्का उत्पन्न गराई प्रश्न गर्न नसक्ने वातावरण सिर्जना गर्छ ।
शिक्षकले उच्च संज्ञानात्मक प्रश्न सोध्दा विद्यार्थीले ती प्रश्नहरूलाई सहजै स्वीकार गर्छन् । किनभने यस्ता प्रश्नहरूको उत्तर सही र गलत भन्ने हुँदैन । यस्ता प्रश्नहरूले विद्यार्थीको रचनात्मक चिन्तन र महत्त्वपूर्ण सोचको विकास गर्छ । प्रश्नले विद्यार्थीलाई ज्ञानको खोजीमा डोर्‍याउनुपर्ने हो । उच्च संज्ञानात्मक प्रश्नले विद्यार्थीलाई सूचना र तथ्य घोक्न कण्ठ गर्न प्रोत्साहन गर्दैन । यसले त विषयवस्तु बुझ्न सहयोग गर्छ । जस्तै दसैं कुन महिनामा मनाइन्छ भन्ने प्रश्नले सूचना र तथ्य सम्झन लगाउँछ, तर त्यही प्रश्नलाई उच्च संज्ञानात्मक बनाएर दसैं किन असोज कात्तिकमा मनाइन्छ ? भनेर सोधियो भने त्यसले विद्यार्थीलाई सोच्न बाध्य पार्छ । जसको कारणले उसले प्रश्नको उत्तर पत्ता लगाउन खोज्नुपर्‍यो, पढ्नुपर्‍यो । समाज र विभिन्न व्यक्ति र संस्थासँग अन्तरक्रिया गर्नुपर्‍यो । अनि मात्र उसले यो प्रश्नको जवाफ दिन सक्छ ।
हाम्रा विद्यार्थीहरू व्याकरण र गणितका सूत्रहरू कण्ठ भन्न सक्छन्, तर शुद्धसँग लेख्न सक्दैनन् । गणितका सूत्रहरू प्रयोग गरेर समस्या समाधान गर्न सक्दैनन् । हाम्रा विद्यार्थीहरू रासायनिक मलखादको प्रयोगले हुने हानि–नोक्सानी लेख्न सक्छन्, बताउन सक्छन्, तर रासायनिक मलखाद चिन्न सक्दैनन् । हाम्रा विद्यार्थीहरू विशिष्ट तापधारण शक्तिको बारेमा बताउन सक्छन्, तर पानीभन्दा तेल किन छिटो तात्छ भन्न सक्दैनन् । हामीले विद्यार्थीलाई सूचना र तथ्यहरू रटायौं, ज्ञान निर्माण गर्न सिकाएनौं । सिकेका कुराहरू दैनिक जीवनमा प्रयोग ल्याउन सिकाएनौं । सिकाइलाई दैनिक जीवनसँग जोडेनौं, विद्यार्थीमा प्रश्नको चेत हाल्न सकेनौं ।
शिक्षक पाठ्य–पुस्तक र परीक्षाले प्रश्न सोध्दा आधारभूत सूचना प्रश्न (के ? कहाँ ? कहिले ? को ? आदि) र खोज प्रश्न (किन ? कसरी ? आदि) दुबै सोध्नुपर्छ । पहिलो प्रश्नले सूचना, तथ्य, आदिको माग गर्छ भने दोस्रो प्रश्नले विषयवस्तुको थप समझ, पूर्वानुमानको प्रयास, विसङ्गतिहरूको पहिचान, समस्या समाधान आदिको माग गर्छ । दोस्रो प्रश्नको उत्तर दिन विद्यार्थीले विभिन्न स्रोतहरूको अध्ययन गर्नुपर्छ । यसले विद्यार्थीको सिकाइलाई थप फराकिलो र मजबुत बनाउँछ । पहिलो प्रश्नले पढ्ने भनेको किताबमात्र हो भन्ने सन्देश दिन्छ भने दोस्रो प्रश्नले पढाइलाई कक्षाकोठा र पाठ्य–पुस्तकबाट बाहिर निकाल्छ र ज्ञान निर्माण र सीप सिकाइलाई वास्तविक जीवन र जगतसँग जोड्छ । खोज प्रश्नले विद्यार्थीमा रचनात्मक चिन्तन र महत्त्वपूर्ण सोचको विकाससमेत गराउँछ ।
विद्यार्थीमा प्रश्न गर्ने क्षमताको विकास गर्नमा शिक्षकको शिक्षण विधिले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । विद्यार्थीमा प्रश्न गर्ने क्षमता विकासका लागि शिक्षकले अनुसन्धान, अवधारणा बुझाइ र समझमा आधारित शिक्षण विधिको प्रयोग गर्नुपर्छ । अनुसन्धान वा सोधपुछमा आधारित शिक्षण विधिले विद्यार्थीलाई अनुसन्धान कौशल सिकाउँछ भने अवधारणा बुझाइ र समझमा आधारित शिक्षण विधिले सोच–सीपको अभ्यास गर्न मद्दत गर्छ । अनुसन्धान सीप र सोच कौशलले विद्यार्थीलाई प्रश्न सोध्न सक्षम बनाउँछ । विद्यार्थीले कुनै अवधारणा बोध गरेपछि त्यही अवधारणाको सेरोफेरोमा बसेर आफ्ना जिज्ञासा, कौतुहलता र थप जान्न मनलागेका विषयवस्तुमा प्रश्न गर्न सक्छन् । विद्यार्थीले विषयवस्तु बुझ्दै जाँदा उसको समझ पनि बढ्दै जान्छ र सिकेका र बुझेका विषयवस्तुमा प्रश्न गर्न थाल्छन् । त्यसैले, कक्षाकोठामा प्रश्नको भय हटाउन सकिएन भने एक्काइसौं शताब्दीको वैश्विक नागरिकको लागि आवश्यक सीप सिकाउन सकिँदैन । यसका लागि सम्बन्धित निकाय, विद्यालय प्रशासन, शिक्षक र विद्यार्थी सबैको सोचमा परिवर्तन ल्याउन जरुरी छ ।

विविधा

मर्यादित महिनावारीका सवाल

जब–जब काठमाडौँबाट स्यानिटरी प्याड बाँड्ने घोषणा हुन्छ वा पश्चिम नेपालमा महिनावारीका बेला कुनै अप्रिय वा अमानवीय घटना घट्छ, तब–तब अत्यन्तै दोधारमा पर्छु । विदेशी सञ्चार माध्यमले खोजिनिधी गर्छन् । सत्य बोलुँ आफ्नै बेइजत, असत्य बोलुँ आफूलाई नै ढाँट्नुपर्ने । विश्वले नै चुनौती ठानेर बिर्सेको, छोडेको महिनावारी सवालमा व्यक्तिगत र सामाजिक ढुंगेचट्टान सरहका अवरोधहरूसँंग मितेरी लाउँदै, जोरी खोज्दै हिँडेको एक पीडित व्यक्ति देशको इज्जतका खातिर पीडित महिला विरुद्ध कसरी बोलुँ ? जुन स्वाभिमानका लागि लडिरहेको छु, जुध्न अपिल गरिरहेको छु, त्यसकै विरुद्ध अनि आफ्नै विरुद्ध कसरी बोलुँ ? लाग्छ, नेपालले राष्ट्रसंघ वा बेइजिङ सम्मेलनताका महिनावारीबारे नलुकाइकन, लाज नमानिकन बोलिदिएको भए आज आएर यति पापड बेल्नपर्ने थिएन । महिनावारीलाई हानिकारक अभ्यासभित्र गुटुमुटु पारेर लुकाउनु नै संसारभर मानव अधिकारको अभियानमा चुनौती बन्यो ।
नेपाल सरकारले महिनावारीका कारण मृत्यु भएकी महिलाको परिवारलाई बिना जाहेरी पक्रनु, मर्यादित महिनावारीका पक्षमा उभिने व्यक्ति वा परिवारलाई कुनै प्रोत्साहन गर्नु सकारात्मक कुरा हुन् । तर यी कदमहरू दीर्घकालीन समाधानका उपाय होइनन् र हुन सक्दैनन् । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गरेमा तीन महिना जेल, तीन हजार जरिवाना वा दुवै हुनसक्ने प्रावधानलाई टेकेर पक्रन थाल्ने हो भने सोलु, झापा, महोत्तरी, नवलपुर, काठमाडौँ, दैलेख, बाजुरा, दार्चुला आदि सबैतिरका घरपरिवारका सदस्य जेल जानुपर्छ । आर्थिक, सामाजिक परिबन्धनका कारण जेजस्तो भए पनि चुप लाग्ने भएकाले मेयर वा अभियन्ताले धम्काउन वा प्रहरीले पक्रन सजिलो छ । सबै घर–घरबाट उजुरी पर्‍यो वा सबै घरका गोठमा नै बस्ने सामुहिक निर्णय भयो भने के हुन्छ ? दैलेखमा साउन ११, २०७४ मा सामुहिक उजुरी दिँदा थेग्नुपरेको आक्रोश र चुनौती कम थिएन । कानुन हुनु जति जरुरी र सुन्दर लाग्छ, त्यति नै त्यसका व्यावहारिक पक्ष सुन्दर नभएको तथ्य थाहा पाउन टाढा जानु पर्दैन— आजका दिनमा पनि चियापसलमा छोएकै नाममा कुटीकुटी मान्छे मारिएका घटना र त्यस विरुद्ध निर्माण भएको ५६ वर्ष पुरानो कानुन हाम्रैसामु छ । करिब डेढ वर्षअघि बनेको कानुनबारे सबैलाई जानकारी गरिएकै भए पनि महिनावारीले सदियौंदेखि उब्जाएका भ्रम, मिथ्या, अवधारणा, व्यवहारलाई चिरोफारो नगरी, महिनावारीलाई मानव अधिकारको साझा सवालका रूपमा स्थापित नगरी डन्डामात्र उठ्यो भने त्यो आफैतिर फर्कन सक्छ । मन भित्रको र जानिफकार भित्रको गोठ नभत्काउनु अर्को त्रुटि रह्यो ।
कुनै अप्रिय घटना घटेका ठाउँमा द्रुतगतिमा समिति बनाई गुणात्मक अनुसन्धानजस्तो कार्यक्रम चलेको छ–छैन, कस्तो कार्यक्रम, कति समय, कतिपटक, कसरी, कसलाई, कसले आदिको सूक्ष्म अनुसन्धान नगरिकनै उही प्रकिया वा रणनीति दोहोर्‍याउनु, कुनै निश्चित खाका वा अनुमानका वा भावनाका भरमा कार्यक्रम चलाउनु पनि समस्या हो । विदेशीले सन् २००५ मा सर्वोच्च अदालतको आदेश र महिला मन्त्रालयको करिब १२ वर्ष अघिको निर्देशिकालाई आधार मान्छन् र अहो केही पनि भएन भनेर तर्सिन्छन् । अपवादलाई छोडेर मर्यादित महिनावारीमा नेपालमा खास काम भएकै छैन । अधिकांश कामहरू मर्यादा बाइपास गरेर गरिएका छन्, त्यसैले संस्कारी मात्र सावित भएका छन् । गरिएका काम महिनावारी सामग्री वा सरसफाइ प्रस्थानबिन्दु बनाएर मर्यादा केन्द्रमा राखेर काम गर्न नसक्नु, महिनावारीलाई अशिक्षित, गरिबी, पिछडिएकोको पर्याय छाउपडी भनेर स्थापित गर्नु, महिनावारीका बहुपक्षीय आयामहरूमाथि अनुसन्धान नहुनु थप त्रुटि हो ।
नेपाल सरकार साँच्चिकै महिनावारीप्रति संवेदनशील हुने र समृद्ध नेपाल सुखी नेपालीको मर्मलाई चरितार्थ पार्ने हो भने विलम्ब नगरी गर्नुपर्ने केही कदमहरू छन् । ठाउँ, भाषा आदिका आधारमा नमस्तेलाई फरक–फरक सम्बोधन गरेजस्तै छाउ, छुइ, छाउपडी पश्चिम नेपालमा प्रयोग हुन्छ । अन्यत्र पन्छिएको, बाहिर सरेको, पर सरेको, नछुने भएको आदि नामले महिनावारी भएको बुझिन्छ । पश्चिम नेपाल र बाँकी नेपालमा फरक भनेको सजिलै देखिने र नदेखिने मात्रै हो । नेपालमा महिनावारी बार्छन् कि बार्दैनन् भन्ने बुझ्न महिनावारी भएकी महिला, उसले प्रयोग गर्ने सामग्री, खानेकुरा, रहने ठाउ, हिँडडुल गरेको स्थान विश्लेषण गरिनुपर्छ । तसर्थ सरकारले नेपालभर नै छाउपडी या महिनावारी बार्ने चलन वा अभ्यास छ भन्नुपर्छ । अन्यथा मनोवैज्ञानिक रूपमा ‘टग अफ वार’ भइनै रहेर अभियानका काम पनि प्रभावित हुनपुग्छन् । जो अहिलेको अभियानको त्रुटिमध्ये एक हो । कतिपय सम्मेलनमा पश्चिम नेपालको महिनावारी बार्ने चलनलाई गम्भीर प्रकारको अभ्यास भनेर व्याख्या गरिएको पाइन्छ, जुन सरासर गलत र आयातित मान्यता हो । महिनावारी नभएका बेला उनीहरू बस्ने घर, लगाउने लुगा, गर्ने सरसफाइ के धनी वा पश्चिमाको सफाको मापदण्डमा पर्छ ?
बहुमुखी र जटिल प्रकृतिको महिनावारीबारे अहिलेसम्म सरकारको ठोस नीति छैन भन्दा अतिशयोक्ति नहोला । साउन २०७४ मा मस्यौदा गरिएको मर्यादित महिनावारी नीति त्यतिकै थन्किएको छ । खानेपानी मन्त्रालयको अगुवाइमा महिला, शिक्षा, स्वास्थ्य मन्त्रालयको संयोजकत्वमा बनेको नीति गुगल गरेर हेर्‍यो भने विदेशी संस्थाका वेब साइटमा भेटिन्छन् । मर्यादित महिनावारी एक त सरकारको प्राथमिकतामा परेन, जब–जब गोठमा मृत्यु भन्ने समाचार आउँछ, तब–तब सबैको चासो बढ्छ, फेरि सेलाउँछ । महिनावारीको बहुपक्षीय आयामहरूलाई सूक्ष्म विश्लेषण गर्ने हो भने यो शान्ति, सशक्तीकरण, मानव अधिकार, दिगो विकाससँंग सरोकार राख्ने स्वास्थ्य, शिक्षा, लैंगिकता, वातावरणसंँग प्रत्यक्ष सम्बन्ध छ । मानिलिउँ, खानेपानी मन्त्रालयबाट चर्पी र पानीको व्यवस्था भयो, वातावरण मन्त्रालयबाट महिनावारी सामग्रीको विसर्जन व्यवस्था भयो, शिक्षा मन्त्रालयले स्वस्थ्य महिनावारी
पाठ्यक्रममा समावेश गर्‍यो र प्याड बाँड्यो, स्वास्थ्य मन्त्रालयले किशोर–किशोरी स्वास्थ्य अन्तर्गत परामर्श गर्‍यो र महिला मन्त्रालयले सडक नाटक गर्‍यो भने पनि महिनावारी भएकी महिलाले मर्यादापूर्वक जिउन पाउँदिनन् र सक्दिनन् । अर्थात् तिर्खा लागेका बेला पानी झिकेर र सारेर खान सक्दिनन्, अनि आफ्नो आस्थाको प्रसाद खान सक्दिनन् । किनकि उनी समाजद्वारा परिभाषित गरिएकी फोहोरी र अशुद्ध हुन् । त्यो विश्वास उनीभित्रको बच्चादेखि देखे, सिकेको डर र अज्ञानताले मलजल गरेको छ । यदि महिलालाई महिनावारी, मानव अधिकार अर्थात् मर्यादित महिनावारी अर्थ्याउन पाएको भए, उनीहरूको आत्मसम्मान उच्च बनाउन पाएको भए दारीजुँगा आउँदा जति गौरव अनुभव गर्थे केटाहरूले, त्यति नै गौरव गर्थे केटीहरूले महिनावारी हुँदा । जति सजिलै दारी फल्ने पत्ती पाइन्छ, त्यति नै सहज हुन्थ्यो, महिनावारी सामग्री । तसर्थ मर्यादित महिनावारी नीति मन्त्रीपरिषदबाट अनुमोदन गरी खास मन्त्रालयले खास–खास कार्ययोजना बनाई एकीकृत ढंगबाट काम भएन भने न महिलामाथि हुने हिंसा घट्छन्, न समाज रूपान्तरणको बाटोमा जान्छ ।
शान्ति, सशक्तीकरण, मानव अधिकारमा काम गर्नेहरूले महिनावारीलाई बिर्सिरहने, स्वास्थ्य, शिक्षा, वातावरण, सरसफाइमा काम गर्नेहरू सरसफाइभन्दा फराकिलो र गहिरो भएर बोले त आफैले महिनावारी बार्न नपाउने डरका कारण, नदीका दुई किनारजस्तो परिवेशमा मर्यादित महिनावारी हुन सक्दैन । चर्पी होला, घर–घरमा प्याड होला, गोठ भत्केर काठमाडौँ र लन्डनमा जस्तो सफा, इन्टरनेट भएका कोठामा बस्ने होलान्, तर महिलाहरूको सामान हैसियत हुने छैन । सरकारसँंग इच्छाशक्ति छ भने कुनै एक मन्त्रालय (व्यावहारिक रूपले, महिला हिंसाको चाप, सशक्तीकरणको सिद्धान्तको आधारमा महिला मन्त्रालय उत्तम हुन्छ) ले मर्यादित महिनावारीको नेतृत्व लिएर अघि बढ्नुपर्छ । महिला–पुरुष, केटीकेटा, धामी–झाँक्री, पण्डित, राजनीति पाटी, सञ्चार, सिमान्तीकृत वर्ग सबैलाई सँंगसँंगै लिएर दिगो व्यावसायिक अभियान स्थापित गर्न मर्यादित महिनावारीले ढोका खोल्छ । साथै सरकारले गैरसरकारी निकायका कामहरूलाई मर्यादित महिनावारी केन्द्रित छ कि छैन, अनुसन्धान गर्नुपर्छ । अभियानकर्मीहरूलाई पृष्ठभूमि, पहुँच र राजनीतिक आस्थाका आधारमा नभई खास मापदण्डका आधारमा विश्लेषण गरी खास भूमिका दिएर प्रोत्साहन गर्नुपर्छ ।

राधा पौडेल

Page 8
विदेश

डढेलोको चपेटामा अस्ट्रेलिया

सेप्टेम्बरदेखिको अनियन्त्रित डढेलोका कारण हालसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् । ७ सयभन्दा बढी घर जलेर नष्ट भएका छन् भने करिब १६ सय भौतिक संरचनामा क्षति पुगेको छ ।
- नारायण खड्का
अस्ट्रेलियाको सिड्नीबाट ५० किलोमिटर दक्षिण–पश्चिमी क्षेत्र वेरोम्बीमा फैलिएको डढेलो नियन्त्रणको प्रयास गरिँदै । तस्बिर ः रोयटर्स

(अस्ट्रेलिया) - अस्ट्रेलियामा विगत केही महिनादेखि फैलिएको डढेलोका कारण सिड्नी, ब्रिसबनलगायत क्षेत्र निकै प्रभावित भएका छन् । यो साता देशका प्रमुख सहरमा अत्यधिक गर्मी भएको छ । अनियन्त्रित डढेलोसँगैको गर्मी बढेपछि न्यु साउथ वेल्स सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ ।
दक्षिण अस्ट्रेलिया, न्यु साउथ वेल्स, भिक्टोरियालगायत क्षेत्रमा बुधबारयताको तापक्रम ४० डिग्रीभन्दा बढी छ । मौसम विभागको पूर्वानुमानसँगै स्थानीय थप त्रसित बनेका छन् । ती क्षेत्रमा तापक्रम ४४ डिग्रीसम्म पुग्ने मौसम विभागको अनुमानपछि उच्च सतर्कता अपनाइएको सरकारको भनाई छ ।
अस्ट्रेलियाको सिड्नीमा गत सेप्टेम्बरमा सल्केको डढेलोले अहिलेसम्म २७ लाख हेक्टर क्षेत्रमा क्षति पुर्‍याइसकेको छ । केही महिनाअघि ब्राजिलको अमाजन जंगलको डढेलोले भन्दा अस्ट्रेलियाको डढेलोले बढी क्षति पुर्‍याएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हाल अस्ट्रेलियाका सिड्नीलगायत क्षेत्रका सयभन्दा बढी स्थानमा डढेलो लागिरहेको छ ।
यसको नियन्त्रणका लागि भइरहेका सरकारी प्रयास खासै प्रभावकारी देखिएका छैनन ।
अस्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार अनियन्त्रित डढेलोका कारण हालसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् । ७ सयभन्दा बढी घर जलेर नष्ट भइसकेको छन् भने करिब १६ सय भौतिक संरचनामा क्षति पुगेको छ । अहिले पनि सिड्नीमा मात्र १ हजार ५ सय अग्निनियन्त्रकले अहोरात्र खटेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । विज्ञहरूले गर्मीको सिजनको सुरुवातमै ठूलो क्षति बेहोर्नुपरेकाले अबका दिनमा आउने अत्यधिक गर्मीको तापक्रममा यो क्रम अझ बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सरकारले आगलागीको जोखिम तथा त्यसबाट हुन सक्ने वायु प्रदूषण नियन्त्रण गर्ने तयारी गरिरहेको जनाएको छ । यसका साथै केन्द्र तथा राज्य सरकारले समेत आगलागी र अत्यधिक गर्मीबाट बच्न सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेका छन् । गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्याप्रति सजग रहन चेतावनीसमेत जारी गरिएको छ ।
विगत केही दिनअघिदेखि सिड्नीको आकाशमा प्रदूषित वायु फैलिएको छ । केही दिनअघि सिड्नीमा वायु न्यूनतम गुणस्तरभन्दा १२ गुणा बढी प्रदूषित रहेको जनाइएको थियो । अस्ट्रेलियाली मौसम विज्ञान विभागका अनुसार उक्त अवस्थमा केही सुधार देखिए पनि प्रदूषण मात्रा अस्वस्थकर नै छ । अत्यधिक वायुप्रदूषणसँगै सिड्नीमा यात्रुका लागि चलाइएको फेरी सेवासमेत केही दिन बन्द गरिएको थियो ।
धुवाँका कारण पर्यटकीय गन्तव्य हार्बर ब्रिज, ओपेरा हाउसलगायतका स्थान तुवाँलोले ढाकेको थियो भने यस अवधिमा पर्यटकको संख्यामा समेत कमी आएको थियो । सिड्नी सहरमा फैलिएको प्रदूषण तथा तुवाँलो तुलनात्मक रूपमा कम भइसकेको भए पनि अझै मानिसको प्रत्यक्ष दैनिकीमा असर पुर्‍याइरहेको छ ।
अस्ट्रेलियाको सिड्नीस्थित ‘रुरल फायर सर्भिस’ ले तापक्रमको वृद्धिसँगै आगलागी हुने उच्च खतरा रहेको उल्लेख गर्दै डढेलोबाट निस्किएको धुवाँले सिड्नीको केही क्षेत्रलाई प्रभावित पार्न सक्ने बताएको छ ।
यसैगरी, आगलागीको जोखिम न्यून गर्न तथा सर्वसाधारणको सुरक्षा गर्न कटिबद्ध र क्रियाशील रहेको सरकारको दाबी छ । तापक्रम उच्च भएका सबै क्षेत्रमा आगलागीको उच्च जोखिम हुने भएकाले खुला आगोको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
डढेलोकै कारण सिड्नीका केही क्षेत्रका नागरिकलाई सीमित पानी प्रयोग गर्नका लागि बाध्यकारी नियम लगाइएको छ । घरको फूलबारी तथा अन्य क्षेत्रमा पानी हाल्न, गाडी सफा गर्न बिहान १० बजेअघि तथा साँझ ४ बजेपछि मात्र अनुमति दिइएको छ भने पानी प्रयोग गर्नका लागि भाँडाको प्रयोग गर्नुपर्नेछ ।
पानी बाँड्दै नेपालीभाषी
तापक्रम लगातार ४० डिग्रीभन्दा माथि पुगेपछि दक्षिण अस्ट्रेलियास्थित सामाजिक संस्था पुण्य फाउन्डेसनले निःशुल्क पानीको वितरण गरेको छ ।
संस्थाले यहाँको सालिसबरी, इलिजावेथलगायतका क्षेत्रहरूमा स्वयंसेवीहरूले दिनभरिजसो नै यात्रु तथा सर्वसाधारणलाई पानी बाँडेका हुन् । उनीहरूको यो सामाजिक अभियानमा बिहीबार प्लेफोर्ड काउन्सिलका मेयर ग्लेन डोहर्टी, काउन्सिलरहरू सर्ली हल्स र स्टिभ कपिन्सले समेत सघाएका थिए । ‘हामीले अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको समयमा चिसो पानी उपलब्ध गराएर थोरै
मात्रामा भए पनि राहत दिने कोसिस गरेका हौं,’ फाउन्डेसनका काशी अधिकारीले भने ।
अधिकारीका अनुसार दर्जनौं स्वयंसेवीहरूले ३ हजार बढी पानीका बोतल सर्वसाधारणलाई वितरण गरेका थिए । दक्षिण अस्ट्रेलियामा विगत ४ दिनदेखि तापक्रम ४० डिग्रीभन्दा माथि पुगेपछि जनजीवन प्रभावित भएको छ ।
मौसम विज्ञान विभागले बिहीबार यहाँको तापक्रम ४९.९ डिग्रीसम्म पुगेको र शुक्रबार केही क्षेत्रमा तापक्रम ४९ डिग्रीसम्म पुग्ने जनाएको छ । गर्मीकै कारण सडकमा लगाइएको कालोपत्रेसमेत पग्लिएको समाचारमाध्यमहरूले जनाएका छन् ।

विदेश

बिदा मनाउन गएकोमा प्रधानमन्त्रीद्वारा क्षमायाचना

- कान्तिपुर संवाददाता

अस्ट्रेलिया– डढेलोका कारण राज्यको जनजीवन प्रभावित भइरहेका बेला परिवारसँग बिदा मनाउन गएका अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले जनतासँग क्षमायाचना गरेका छन् । उनी बिदा छोट्टयाएर शनिबार स्वदेश फर्कने भएका छन् ।
प्रधानमन्त्री सुटुक्क परिवारसँग केही दिनअघि छुट्टी मनाउनका लागि अमेरिकाको हवाई गएका थिए । तर देशको अधिकांश भागमा आगलागीले जनजीवन प्रभावित भइरहेको समयमा उनी बिदा मनाउन गएको भन्दै आलोचना भएपछि उनले एक विज्ञप्ति जारी गर्दै क्षमा मागेका हुन् ।
मरिसनले आफूले गरेको छुट्टी लिने निर्णयले डढेलोका कारण प्रभावित नागरिकलाई कुनै अपमान नगरेको प्रस्ट पारे । उनले देशमा भइरहेका समस्याबारे नियमित अपडेट लिइरहेको र निमित्त प्रधानमन्त्रीलगायत अन्य जिम्मेवार व्यक्तिले राम्रोसँग सम्हालिरहेको दाबी गरे । प्रधानमन्त्री मरिसन आफ्नो छोरीलाई सरप्राइज दिनका लागि छुट्टीमा गएको समाचारमा जनाइएको छ । तर यस्तो अवस्थामा उनी बिदा मनाउन जानु राम्रो नभएको भन्दै नागरिक तथा अन्य विभिन्न समूहहरूले आलोचना गरेका थिए । आलोचनापछि प्रधानमन्त्रीले शुक्रबार बिहान स्थानीय रेडियो टुजीबीसँग कुराकानी गर्दै आफू सकेसम्म चाँडै घर फर्कने जनाएका थिए । सोमबारसम्मका लागि छुट्टीमा गएका भए पनि उनी आफ्नो बिदा सकिनुभन्दा दुई दिनअघि नै फर्कने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अस्ट्रेलियामा डढेलो अनियन्त्रित हुनुको कारण जलवायु परिवर्तन भएको मरिसनले गतसाता स्वीकार गरेका थिए । त्यसअघि मरिसन तथा सरकारका उच्च मन्त्रीहरूले पटक–पटक डढेलोको कारक जलवायु परिवर्तन नभएको जिकिर गर्दै आएका थिए । जलवायु परिवर्तनका सम्बन्धमा ठोस र प्रभावकारी नीति नल्याएको भन्दै केही समयदेखि अस्ट्रेलियाली सरकारको आलोचना हुँदै आएको छ ।
जलवायु परिवर्तनमा ठोस कार्यक्रम ल्याउनुपर्ने माग गर्दै अधिकारकर्मीहरूले नियमितजसो प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनका सहभागीले कोइलाखानीबाट निकालिने बिजुली उत्पादनबारे सरकारी नीतिको कडा विरोध गर्दै आएका छन् ।

विदेश

बलात्कार मुद्दामा भाजपाका पूर्वविधायकलाई जन्मकैद

- एजेन्सी

नयाँदिल्ली – भारतको दिल्लीस्थित एक अदालतले भारतीय सत्तारूढ दल भाजपाका एक पूर्वसांसदलाई बलात्कारसम्बन्धी मुद्दामा जन्मकैदको सजाय सुनाएको छ ।
दिल्लीको तीसहजारी अदालतले ५१ वर्षीय कुलदीप सेंगरलाई शुक्रबार जन्मकैदको सजाय सुनाएको हो । त्यसका साथै अदालतले सेंगरले क्षतिपूर्तिस्वरूप २५ लाख भारतीय रुपैयाँ तिर्नुपर्ने फैसलासमेत गरेको छ ।
सेंगरलाई १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालबालिका संरक्षणसम्बन्धी कानुनअनुसार मुद्दा दायर गरिएको थियो । गत वर्ष प्रहरीले आफ्नो उजुरीलाई गम्भीरतापूर्वक नलिएको
भन्दै पीडितले आत्मदाहको प्रयास गरेपछि यो घटनाले विश्व समुदायको ध्यान
तानेको थियो ।
सेंगरलाई यसै सातको सुरुमा दिल्लीस्थित अदालतले दोषी ठहर गरेको थियो । भारतीय कानुनअनुसार नाम सार्वजनिक गर्न नमिल्ने ती महिला गत जुलाईमा एउटा शंकास्पद कार दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । दुर्घटनामा उनका वकिल गम्भीर घाइते भएका थिए भने सँगै यात्रा गरिरहेका दुईजना आफन्तको ज्यान
गएको थियो ।
पीडितकी आमाले सेंगरले षड्यन्त्रपूर्वक घटना गराएको बताएकी थिइन् । तर सेंगरले भने ती आरोप अस्वीकार गर्दै आएका छन् । उक्त घटनाबारे संघीय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पीडित महिलाले यसअघि सन् २०१७ मा आफूले जागिरका लागि सेंगरसँग भेटेको तर आफूलाई अपहरण
गरी सेंगरसहितका व्यक्तिले एक
साताभन्दा बढी समय बलात्कार गरेको बताएकी थिइन् ।
आफूले उजुरी दिए पनि सेंगरको नाम आरोपीका रूपमा राख्न प्रहरीले निकै आनाकानी गरेको उनले बताएकी छन् । गम्भीर आरोपपछि पनि सेंगरलाई पार्टीले निष्काशन नगरेको भन्दै भारतीय जनता पार्टीको चर्को आलोचना भएको थियो । कार दुर्घटनाको योजना रचेको आरोप लागेपछि मात्रै भाजपाले सेंगरलाई गत अगस्टमा पार्टीबाट बर्खास्त गरेको हो ।
सन् २०१८ मा सेंगरका भाइ अतुल सेंगरले ती महिलाका बुबालाई आक्रमण गरेको पीडित परिवारको आरोप छ । प्रहरीले उक्त आक्रमणको आरोपमा पक्राउ गरे पनि गैरकानुनी हतियार राखेको भन्दै महिलाका बाबुमाथि उल्टै मुद्दा चलाएको थियो । महिलाका बाबुको थुनामै मृत्यु भएको थियो ।
त्यसको केही दिनपछि ती महिलाले न्याय प्राप्तिको प्रयासलाई बारम्बार असफल गराइएको भन्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको घरबाहिर आफूलाई आत्मदाह गर्ने प्रयास गरेकी थिइन् ।
घटनापछि भारतको संघीय अनुसन्धान निकायले उक्त मुद्दा आफ्नो क्षेत्राधिकारभित्रको भएको भन्दै अतुल सेंगरसहित १० जनालाई हत्याको अभियोगमा पक्राउ गरेको थियो । यद्यपि, उक्त मुद्दा अझै चलिरहेको छ । अतुलले आफूविरुद्ध लगाइएको मुद्दाबारे भने केही बोलेका छैनन् ।

विदेश

ब्रेक्जिटपछि दक्ष कामदार अभाव हुने

- नवीन पोखरेल

(लन्डन) - बेलायती उद्योगपतिहरूको संगठन कन्फेडेरेसन अफ ब्रिटिस इन्डस्ट्री (सीबीआई) ले ब्रिटेनले युरोपेली संघ (ईयू) छाडेपछि लागू गर्न लागेको आप्रवासनसम्बन्धी नयाँ नियम निकै जटिल हुने भन्दै चिन्ता व्यक्त गरेको छ ।
समूहले त्यस्तो नीतिले बेलायतमा दक्ष कामदारको अभाव हुने जनाएको छ । सीबीआईले सर्वेक्षण गरेका तीन सयभन्दा बढी व्यवसायमध्ये कम्तीमा ७० प्रतिशतले ब्रिटिस श्रमबजारका लागि दक्ष कामदार अभाव सबैभन्दा ठूलो चुनौती भएको बताएका रोयटर्सले जनाएको छ । गत अगस्ट २७ देखि अक्टोबर ४ सम्म भएको सीबीआई सर्वेक्षणमा ८ लाख ३० हजार मानिस काम गर्ने ३०४ वटा कम्पनीले भाग लिएका थिए । सर्वेक्षणले व्यवसायीहरूले सन् २०१७ र २०१८ को तुलनामा अब नयां कर्मचारी भर्ना गर्ने अपेक्षा कम रहेको बताएको पनि जनाएको छ ।
सीबीआई सर्वेक्षणमा सहभागी मतदातामध्ये ६५ प्रतिशतले गएको पाँच वर्ष यता ब्रिटेनको श्रमबजार लगानी तथा व्यवसाय गर्नका लागि कम आकर्षक भएको पनि जनाएका थिए । गतमहिना प्रकाशित एक तथ्यांकले जुन महिनासम्म एक वर्ष अवधिमा ईयूबाट बेलायत आउने र बेलायत छाड्ने ईयू खुद आप्रवासन ४८ हजारले घटेको देखाएको छ । यो १६ वर्षयताकै सबैभन्दा न्यून हो । सोही अवधिमा ईयू र गैरयुरोपेली खुद आप्रवसान २ लाख १२ हजार छ । प्रधानमन्त्री बोरिस जोन्सनले ब्रेक्जिटपछि बेलायतमा काम गर्न आउने कामदारका हकमा अस्ट्रेलियाजस्तो पोइन्टमा आधारित अध्यागमन प्रणाली अपनाइने जनाइसकेका छन् ।
यद्यपि, बेलायत सबैको आकर्षक गन्तव्यमा छ । बेलायत आप्रवासीका लागि रोजाइमा पर्नुबारे बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदी भन्छन्, ‘बेलायतमा कानुनी शासन छ र यहाँ साधारणतः योग्यहरूले शासन चलाउँछन् । मानिस यहाँ सुरक्षित अनुभव गर्छन् । बेलायत अंग्रेजी भाषा बोल्ने एउटा उदार र सबैलाई स्वागत गर्ने मुलुक हो । युद्ध वा तानाशाही शासकहरूबाट भागेका मानिस यूके आउन रुचाउँछन् ।’ तर, बेलायतलाई अध्यागमन नियन्त्रण गर्न सकस परिरहेको छ । खासगरी पूर्वी युरोपबाट आएका मानिसले यूकेको उदार नीति तथा कल्याणकारी प्रणालीको दुरुपयोग गरेपछि बेलायत थप कठोर बनेको कतिपयको विश्लेषण छ । प्राध्यापक सुवेदी अगाडि भन्छन्, ‘युरोपेली संघका गरिब मुलुकबाट ठूलो संख्यामा आएका उनीहरू ब्रिटेनको स्वास्थ्य सेवा र अन्य सेवाका लागि ठूलो बोझ बन्न पुगे । फलस्वरूप, ब्रिटिस जनताले उनीहरूको आवतजावतमा रोक लगाउन चाहे तर ब्रिटेन युरोपेली संघको सदस्य रहिरहँदासम्म त्यो सम्भव थिएन । ब्रिटेनले युरोपेली संघ छाड्ने पक्षमा मतदान गर्नुको एउटा प्रमुख कारण त्यो पनि हो ।’
बेलायतमा रोजगारको अवसर पर्याप्त छ । मानवअधिकार र प्रजातन्त्रको देश पनि हो यो । यसैको आधारमा शरणार्थीका लागि आवेदन दिन सजिलो हुनु, धेरै देशका मानिस बसोबास गर्ने हुनाले यहाँको समाज बहुभाषी, बहुसांस्कृतिक र बाहिरबाट आउने मानिसका लागि बस्न र समायोजन हुन सजिलो हुनु आदि बेलायत आप्रवासीको रोजाइमा पर्नुको मुख्य कारण मानिन्छ ।
‘बलियो अर्थतन्त्र, विश्व राजनीतिमा बेलायतको प्रभाव, उपनिवेशकालदेखि बेलायतको नाम विश्व परिवेशमा उच्च हुनु पनि आकर्षण हुन्,’ पूर्वकाउन्सिलर डा. बच्चुकैलाश कैनी भन्छन्, ‘तर पूर्वी युरोपियन मुलुकबाट आएका आप्रवासीहरूका कारण अस्पताल, स्कुलमा धेरै चाप र स्थानीयका लागि रोजगारीको अवसर कम हुँदै गयो । आप्रवासीप्रति नकारात्मक धारणा बन्दा ब्रेक्जिट भएको मानिन्छ । तसर्थ अहिले बेलायती जनताको अपेक्षाअनुसार सरकार पनि अनुदार हुँदै गएको देखिन्छ ।’
बेलायतमा विधिको शासन मानिने र उच्च प्राथमिकता दिइने हुनाले गैरकानुनी आप्रवासी रोकथाम गर्ने कानुन कडाइका साथ लागू गर्न सरकार प्रतिबद्ध देखिएको छ । तर टोरी सरकारले पहिलो कार्यकालमा घोषणापत्रमा उल्लेख गरेअनुसार आप्रवासीको संख्या लाखबाट हजारमा झार्ने प्रतिबद्धता पूरा हुन नसक्नु सरकारलाई टाउको दुःखाइको विषय बनेको छ ।
अंग्रेजी भाषा, सामाजिक सुरक्षा, निःशुल्क स्वास्थ्य, शिक्षाका कारण युरोप र अन्यत्रबाट मानिस काम गर्न यूके आउन आकर्षित हुने धारणा राख्छन् नर्थह्याम्टन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय व्यापार तथा रणनीतिका लेक्चरर डा. बुद्धि पाठक । ‘१ करोड ७५ लाख ब्रिटिस नागरिकले ब्रेक्जिटको पक्षमा मतदान गर्नुको मुख्य कारण आप्रवासन हो,’ पाठकको बुझाइ छ ।

Page 9
स्वास्थ्य

बुढ्यौली भगाउन 'पञ्चकर्म'

शरीरभित्र जम्मा भएको रासायनिक र विषाक्त विकार तत्त्वलाई बाहिर निकाल्ने आयुर्वेदिक प्रक्रिया पञ्चकर्म हो
- अतुल मिश्र

(काठमाडौं) - पञ्चकर्म उपचार प्रक्रिया हाल नेपालमा समेत लोकप्रिय हुँदै छ । शरीरलाई शुद्घ (डिटक्सिफिकेसन) र पुनर्जीवन (रिजुबिनेसन) दिनका लागि उपयोगी मानिने पञ्चकर्मप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादव बताउँछन् ।
‘एक दशकअघि मुलुकमा सर्वसाधारणमा पञ्चकर्मबारे खासै चासो र जानकारी देखिएको थिएन,’ डा. यादव भन्छन्, ‘हिजोआज मुलुकमा पढेलेखेका जानकार व्यक्तिहरू बढ्न थालेपछि पञ्चकर्मबारे जिज्ञासा राख्नुको साथै यो उपचार प्रक्रियामा संलग्न हुन थालेका छन् ।’ पञ्चकर्म प्रक्रिया रोगी, सिकिस्त बिरामीका लागि मात्र नभई निरोगी व्यक्तिलाई समेत भविष्यमा हुने सक्ने जोखिमलाई न्यूनीकरण गर्दै स्वस्थ जीवन दिलाउन सघाउँछ । पञ्चकर्मले शरीरमा हुने बुढ्यौलीको प्रक्रियालाई घटाई स्वस्थ राख्न सघाउने भएकाले निरोग व्यक्तिहरूसमेत यो आयुर्वेदिक उपचार पद्घतिप्रति आकर्षित भइरहेको डा.यादव बताउँछन् ।
आयुर्वेदमा रोगको उपचार गर्ने दुईवटा विधि ‘शोधन’ र ‘शमन’ हुन्छ । जुन रोग औषधिद्वारा सम्भव छैन, ती रोगको कारक दोषलाई शरीरबाट बाहिर हटाउने पद्घति शोधन हो । शोधनअन्तर्गत शारीरिक व्याधिको कारक रहेका दूषित दोषहरूलाई शरीर बाहिर निकाल्दा धेरैजसो रोग, समस्या आफैं निको हुने मान्यता छ । पञ्चकर्मसमेत यही ‘शोधन विधि’ कै प्राविधिक नाम हो ।
‘सामान्य भाषामा भन्ने हो भने जसरी फोहोर कपडालाई धोएर सफा गर्दा यो टल्किन्छ, ठीक त्यस्तै शरीरको शोधनले आन्तरिक अंगहरूलाई सफा गरेर टल्काउँछ,’ डा.यादव बताउँछन् । आयुर्वेदको एउटा प्रमुख ‘शुद्घीकरण’ र ‘मद्यहरण’ उपचार प्रक्रिया पञ्चकर्म पाँचवटा अर्थात् ‘वमन’, विरेचन, नस्य, बस्ती र रक्तमोक्षणजस्ता विभिन्न चिकित्साको सम्मिश्रण हो । यसको उपयोग शरीरमा रोगलगायत अन्य कारणले जम्मा भएका विषाक्त, काम नलाग्ने हानिकारक पदार्थबाट मुक्ति दिलाउनका लागि गरिन्छ ।
‘आयुर्वेदअनुसार असन्तुलित दोषले अपशिष्ट पदार्थ उत्पन्न गर्छ । यसलाई आयुर्वेदको भाषामा ‘आम’ भनिन्छ । यो पदार्थ दुर्गन्धयुक्त, लेसिलो र हानिकारक हुन्छ । यही ‘आम’ लाई शरीरबाट बाहिर निकाल्नु आवश्यक हुन्छ ।
मानिसभित्र यही ‘आम’ को निर्माण रोक्न आयुर्वेद चिकित्सा पद्धतिले व्यक्तिविशेषलाई उचित आहार दिनुको साथै उपयुक्त जीवनशैली, बानीव्यहोरा तथा व्यायामसँगै पञ्चकर्मजस्तो निर्मलीकरणको प्रक्रिया जारी राख्ने सल्लाह दिन्छ ।
‘पञ्चकर्मका विधिहरूले मानव शरीरमा जीव विष उत्पन्न गर्ने तनाव एवं रोग हटाउन सघाउँछ,’ डा. यादव भन्छन्, ‘यो पाँचवटा कर्मले हाम्रो ‘दोष’ लाई पुनः सन्तुलनमा फर्काउँछ ।’ यो फर्काउने प्रक्रियाअन्तर्गत पसिना ग्रन्थी, मूत्रमार्ग, आन्द्रा आदिले अपशिष्ट पदार्थलाई उत्सर्जन गर्ने बाटोबाट शरीरमा भएको ‘आम’ लाई सफा गर्छ ।
पञ्चकर्मले करिब १ सय ४० रोगबाट मुक्ति मिल्ने औंल्याउँदै डा. यादव भन्छन्, ‘यो चिकित्साले वातबाट हुने ८०, पित्तबाट हुने ४० र कफबाट हुने २० प्रकारका रोगको उपचार हुन्छ ।’


आयुर्वेदअनुसार तीनवटा गुणले गर्दा व्यक्तिको प्राकृतिक विशेषता निर्धारित हुन्छ । यी तीनै गुणलाई ‘दोष’ भनिन्छ । यो दोषलाई ‘वात’, ‘पित्त’ र ‘कफ’ भनिन्छ । यिनै तीन दोषको असन्तुलनले त्यो दोषसँग सम्बन्धित लक्षण उत्पन्न हुन्छ ।
पञ्चकर्मले हाम्रो फोक्सो, पेट–आन्द्रा, पसिनाको ग्रन्थी, मूत्राशय, मलाशय आदि अंगहरूको माध्यमबाट अपशिष्ट पदार्थलाई शरीरबाहिर निकाल्छ ।
रोगी वा निरोगी हरेक व्यक्तिका लागि पञ्चकर्मको प्रक्रिया फरकफरक हुन सक्छ । यो प्रक्रिया चिकित्सकले ती व्यक्तिको शारीरिक स्थिति, बल, उमेर, रोग प्रतिरोधक क्षमता, रोग आदिलाई हेरेर निर्धारण गर्छन् ।
पञ्चकर्म सबै मौसममा गरिने भए पनि यसलाई वसन्त ऋतुमा गर्नु सबैभन्दा बढी उपयुक्त मानिएको छ ।
पञ्चकर्म मधुमेह, पक्षाघात, अर्थराइटिस, गठिया, अटोइम्युन रोग, श्वासप्रश्वासको रोग, जीवनशैलीसँग जोडिएको रोग, न्युरोलजिकल डिसअर्डर, छालासम्बन्धी समस्या आदिमा उपयोगी मानिन्छ ।

“स्नेहन” र “स्वेदन”
पञ्चकर्म गर्नुभन्दा अघि ‘पूर्वकर्म’ गरिन्छ । यसअन्तर्गत स्नेहन र स्वेदन पर्छन् । सामान्य भाषामा भन्ने हो भने ‘स्नेहन’ भनेको शरीरमा विभिन्न प्रकारले तेल मालिस गर्नु र औषधियुक्त घिउ सेवन गराउनु हो । यसले गर्दा शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सजिलो हुन्छ ।
स्नेहन, आन्तरिक र बाह्य गरी दुई प्रकारको हुन्छ । आन्तरिक स्नेहनअन्तर्गत औषधियुक्त घिउ सेवन गराइन्छ । यस्तै बाह्य स्नेहनअन्तर्गत शरीरमा औषधियुक्त घिउ–तेलले मालिस गराइन्छ ।
स्नेहनबाट हाम्रो शरीर स्निग्ध भएपछि ‘स्वेदन’ को माध्यमले शरीरभित्र भएका ‘दोष’
हरूलाई पगालिन्छ ।
स्नेहनको माध्यमले शरीरमा भएको विषाक्त पदार्थहरू मुलायम भएपछि यसलाई पसिनालगायतका माध्यमबाट बाहिर निकालिन्छ ।
यो दोष पगाल्ने प्रक्रिया ‘सयाग्नी’ र ‘निराग्नी’ गरी दुई प्रकारले गरिन्छ । सयाग्नीअन्तर्गत आगो/तापको प्रयोग गरेर शरीरमा भएको दोषलाई पगालिन्छ भने निराग्नीअन्तर्गत घामको प्रयोग गरी दोषलाई पगालिन्छ ।

पाँच प्रक्रिया
बमन ः यसअन्तर्गत शरीरभित्र भएको दोषलाई वान्ताको प्रक्रियाबाट शरीरबाहिर निकालिन्छ । स्नेहन र स्वेदनको माध्यमले तरल पदार्थमा परिणत भएको शरीरभित्र रहेको विषाक्त पदार्थ वान्ताको माध्यमले शरीरबाहिर निस्किन्छ । वमन मुख्य रूपमा कफ दोष हटाउन गरिन्छ ।
विरेचन ः यो प्रक्रियामा हाम्रो शरीरको दोषलाई पखाला लगाएर दिसाको माध्यमले शरीरबाहिर निकालिन्छ । यसमा आन्द्रामा जम्मा भएका विषाक्त पदार्थ शरीरबाहिर निकालिन्छ । वमन एकपटक गरेको ७ दिनपछि विरेचन गरिन्छ ।
विरेचन मुख्य रूपमा पित्त दोष
हटाउन गरिन्छ ।
बस्ती ः यो प्रक्रिया नाइटोमुनिको भाग (गुदद्वार क्षेत्र) मा गरिन्छ । यसअन्तर्गत तैलीय वस्तु वा काँडायुक्त द्रव्य गुदद्वारका माध्यमले मलाशयमा पठाइन्छ । यो मुख्यतः वात दोषका लागि राम्रो मानिन्छ । यो आधुनिक चिकित्सा पद्घतिमा गरिने एनिमासँग मिल्दोजुल्दो प्रक्रिया हो । विरेचन गरेको ७ देखि १४ दिनमा
बस्ती गरिन्छ ।
नश्य ः यो प्रक्रिया घाँटीभन्दा माथिल्लो भागको उपचारका लागि उपयोग गरिन्छ । यसअन्तर्गत नाकमा औषधि हालिन्छ । यसले टाउकोबाट अपशिष्ट पदार्थ निकाल्नमा सघाउँछ । बस्ती गरेको ७ दिनपछि नश्य गरिन्छ ।
रक्तमोक्षण ः रक्त शुद्घीकरणको यो प्रक्रिया विभिन्न प्रकारले गरिन्छ । यसअन्तर्गत जुका (जलौका) लाई प्रयोग गरी अशुद्घ रगत निकालिन्छ । आवश्यक भएकाहरूलाई मात्र नश्य गरेको ७ दिनपछि रक्तमोक्षण गरिन्छ । सम्पूर्ण पञ्चकर्म गर्न २१ देखि ३० दिनसम्म लाग्न सक्छ ।
सामान्यतः १६ वर्षभन्दा मुनि र ७० वर्षभन्दा माथिकालाई पञ्चकर्मबाट बढी फाइदा मिल्दैन । बिरामी वा स्वस्थ व्यक्तिले पञ्चकर्म गराउन हुने वा नहुने कुरा आयुर्वेदिक चिकित्सक, वैद्य आदिले निर्धारित गर्ने भएकाले चिकित्सकीय सल्लाह अत्यन्त आवश्यक मानिन्छ । उसो त बच्चा, वृद्घ, अशक्त, गर्भवती, क्षयरोगी आदिले पञ्चकर्म गराउनु नहुने मान्यता छ ।


फाइदाहरू
िआयु वृद्धि
िबुढ्यौली प्रक्रिया सुस्त हुन्छ
िरोग प्रतिरोधक क्षमता बलियो बनाउँछ
िस्मरणशक्तिमा वृद्घि ल्याउँछ
िशारीरिक क्रियाहरूको सन्तुलन पुनः फर्किन्छ
िशरीर बलियो हुन्छ
िपाचन प्रणाली राम्रो हुन्छ
िरगतको शुद्घीकरणले छाला स्वस्थ हुन्छ
िरक्तसञ्चारमा वृद्घि हुन्छ
िमनलाई शान्ति मिल्छ
िमानसिक तनाव हट्छ
िशरीरको अतिरिक्त बोसो कम हुन्छ
िविभिन्न रोग हटेर फाइदा हुन्छ
िथकाइ लाग्न कम हुन्छ
िस्मरण शक्ति बढ्छ

स्वास्थ्य

मसलामात्र हैन कालो जिरा

- कान्तिपुर संवाददाता

शताब्दियौंदेखि भान्सा र औषधिमा उपयोग हुँदै आएको कालो जिरा युरोप तथा एसियामा उत्पादन हुन्छ । यसको पात प्वाँखजस्तै हुन्छ । यसको फूल सानो, सेतो र गुलाफी हुन्छ । यसको बीउ हँसिया आकारको आवरणविहीन हुन्छ जसले जिराको भ्रम उत्पन्न हुन्छ । आयुर्वेदका अनुसार यो निकै ऊर्जाशील हुन्छ । यसको सुगन्ध कस्तूरी र मसलाजस्तै हुन्छ । यसको बीउ र चूर्ण फलबाट सुगन्ध आउँछ ।
यसमा वाष्पशीलता उच्च हुन्छ । यस्तै यसमा लिमोनिन, कार्बोन, कार्बिन, कार्बाकोल पाइन्छ । कालो जिराको सेवन मुख्य रूपमा महिलाहरूमा हुने दुखाइसहितको महिनावारीको समस्यामा अत्यन्त फाइदाकारी मानिन्छ । यो पाचक बनाउनसमेत उपयोग गरिन्छ । पाचन समस्या भएका मानिसले खानापछि केही कालो जिरा सेवन गरे लाभदायी हुन्छ । यसमा एन्टिमाइक्रोबियल गुण हुन्छ, जसले गर्दा पेटसम्बन्धी थुप्रै समस्यामा लाभदायक मानिन्छ ।
कालो जिराको नियमित सेवनले शरीरमा भएको अनावश्यक बोसो कम गर्न सघाउँछ । यसले बोसोलाइ पगालेर अपशिष्ट पदार्थको माध्यमले शरीर बाहिर निकाल्ने मान्यता रहेको छ । यसबाहेक यो गठिया, लुतो, आर्थराइटिस, पिसाब रोकिने समस्याका लागि लाभदायक मानिन्छ ।
त्यसैगरी, यसले वाक्वाकी लाग्ने, भोक नलाग्ने तथा बढी लाग्ने, अपच हुने र पेट सुन्निने समस्यामा फाइदा गर्छ । यो पेट फुल्ले, शरीरको तापक्रम कम हुने तथा रक्तसञ्चार रोगका बिरामीका लागि समेत लाभदायक मानिन्छ । यसको सेवनले रोग प्रतिरोधक क्षमतासमेत बलियो हुन्छ । यसले शरीरमा ऊर्जाको सञ्चार गर्छ जसले थकाइ र कमजोरी अनुभव हुँदैन । यस्तै, कालो जिराले बढी ऊर्जा उत्पादन गर्ने भएकाले एक दिनमा तीन ग्रामभन्दा बढी सेवन गर्नु हुँदैन । गर्भावस्थाका महिलाले भने यो सेवन गर्नु हुँदैन । यस्तै बढी गर्मी लाग्ने, उच्च रक्तचापका बिरामी, दीर्घरोगीले चिकित्सकीय सल्लाह लिई यसको उपयोग गर्नुपर्छ ।

स्वास्थ्य

मुटुरोगीलाई एक्लोपन खतरनाक

- कान्तिपुर संवाददाता

हालै गरिएको एक अनुसन्धानअनुसार एक्लै रहने, बस्ने मुटुरोगीलाई मृत्युको खतरा बढी हुने देखिएको छ । जर्नल हर्टमा प्रकाशित अनुसन्धानको नतिजाअनुसार मुटुरोगले पीडित र एक्लो रहनेमा मृत्यु दरको खतरा बढ्छ । अनुसन्धानअनुसार एक्लोपनाले पीडित व्यक्तिमा कोरोनरी मुटुरोग र मृत्युको खतरा बढी हुन्छ ।
अध्ययनमा डेनमार्कका बिरामीलाइ सामेल गरिएको थियो । जसमा सन् २०१३ र २०१४ को बीच एक वर्षको अन्तरमा उनीहरूको स्वास्थ्यको परिणामलाई हेरियो । धेरैजसो पुरुष रहेको यो अध्ययनमा बिरामीको औसत आयु ६६ वर्ष थियो ।
अनुसन्धानअनुसार एक्लो हुनेमा चिन्तित हुने खतरा तीनगुणाले बढ्छ । यसबाहेक जसले चिकित्सकलाई एक्लोपनाबारे बताएका थिए, तिनीहरूको एक वर्षको अन्तरमा उपचार भए पनि मृत्यु भयो । एक्लोपनाले गर्दा उनको स्वास्थ्य एक वर्षभित्रै बिग्रिँदै गयो । अनुसन्धानअनुसार एक्लोपना भएको मुटुरोगीको मृत्युदर तीन गुणा बढेको देखियो । अनुसन्धानकर्ताले अन्तिम निष्कर्षका रूपमा यो पाए कि एक्लो रहनु कतिपय व्यक्तिमा एक्लोपना अनुभव गर्नुसँग जोडिएको छैन । उसो एक्लो रहनेहरूलाई अर्कोसँग रहने व्यक्तिको तुलनामा चिन्ता र उदासी रोगको कम जोखिम हुन्छ ।
एक्लो रहने पुरुषमा ३९ प्रतिशतभन्दा बढी मुटु स्वास्थ्यको जोखिम जोडिएको थियो । अनुसन्धानकर्ताको टोलीले के पायो भने, एक्लोपना र सामाजिक रूपमा अलग रहनुले हृदयाघात र एन्जाइनाको जोखिम २९ प्रतिशतसम्म बढाउन सक्छ । यस्तै स्ट्रोकको जोखिम ३२ प्रतिशत
बढाउन सक्छ ।
अनुसन्धानकर्ताले २३ वटा भिन्नाभिन्नै अध्ययनका आधारमा नतिजा सार्वजनिक गरेका हुन् । अनुसन्धानअनुसार महिलासँग परिवार र साथीको एउटा व्यापक नेटवर्क हुन्छ र यसरी अलग हुने कारण उनीहरूलाई पुरुषजस्तो स्थिति रहँदैन । अनुसन्धानकर्ताका अनुसार एक्लोपनबाट प्रभावित व्यक्तिलाई सहयोग लिनुपर्ने खाँचो छ । उनीहरूलाई आफ्नो जीवन राम्रो बनाउन पाइला चाल्नुपर्छ र सामुदायिक समूहमा सामेल हुनुपर्छ ।

 

Page 10
समाचार

डोजरले पन्छाउँदै हिउँ

- आश गुरुङ

(लमजुङ) - बाक्लो हिमपातले बाटो अवरुद्ध भएपछि मनाङमा डोजर र एक्स्काभेटर प्रयोग गरेर पन्छाउन थालिएको छ । चामेदेखि माथिल्लो क्षेत्रका पदमार्ग र सडकमा हिउँ जमेपछि आवतजावत प्रभावित छ । चामे–१ तिमाङदेखि माथिल्लो मनाङ गाउँ र खाङसारसम्मका सडक बाक्लो हिउँले छोपिएका छन् । हिमपात भएपछि एक सातायता तिमाङदेखि माथिल्लो मनाङसम्म गाडी चलेका छैनन् । नासों–९ दानक्युदेखि माथिल्लो क्षेत्रमा भने घाम लागेकाले तिमाङसम्म सवारीसाधन चल्न थालेका छन् । माथिल्लो क्षेत्रमा सांसद पोल्देन छोपाङ गुरुङको पहलमा एउटा डोजर र एउटा एक्स्काभेटर प्रयोग गरी सडकका हिउँ फाल्ने काम भइरहेको छ । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार बिहीबारदेखि सडक र पदमार्गका हिउँ उपकरण प्रयोग गरेर फाल्न थालिएको हो । बिहीबार हुम्डे क्षेत्रमा सडकको हिउँ पन्छाइएको उनले बताए । मनाङ ङिस्याङ–१ पिसाङका छिरिङ गुरुङले शुक्रबार हुम्डेबाट पिसाङ हुँदै ढिकुरपोखरीसम्म सडकमा जमेको हिउँ हटाइएको बताए । ‘सडकमै हिउँ जमेर २ फिट जति थियो,’ उनले भने, ‘माननीयको डोजर र एक्स्काभेटर प्रयोग गरेर हिउँ फाल्न थालेका छौं ।’
सांसद गुरुङको स्याउ फार्म एग्रो मनाङ प्रालिको डोजर र एक्स्काभेटर प्रयोग गरेर हिउँ फालिएको स्थानीयले बताएका छन् । गत वर्ष पनि उनकै सहयोगमा बाटोको हिउँ फालिएको थियो । प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार हिमपातपछि माथिल्लो क्षेत्रमा चिसो निकै बढेको छ । चामे क्षेत्रको सडकमा प्रहरी र सेनाले हिउँ पन्छाइरहेका छन् । तल्लो क्षेत्रको स्यार्क्यु खोलामा निर्माणाधीन पुलको निर्माण कम्पनी क्याराभान कन्स्ट्रक्सन प्रालिको एक्स्काभेटर उपयोग गरेर हिउँ फाल्न थालिएको छ । हिउँ पन्छाउन डिभिजन सडक कार्यालय दमौलीसँग डोजर तथा एक्स्काभेटर मागे पनि पठाएको छैन ।

समाचार

बच्चा अपहरण गर्ने पक्राउ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– तीन बालबालिकालाई अपहरण गरेर तीन लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कैलाली घर भई बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापति र गोरखा–१० घर भई काठमाडौं–२६ बस्ने २८ वर्षीय विनोद थापामगरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू विरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान भइरहेको छ । घटनामा संलग्न अर्का एकजना फरार छन् । एक महिलाले आफू कामविशेषले पोखरा जानुपरेकाले सामाखुसीमा आफन्तको घरमा छाडेका
आफ्ना छोराछोरी र भान्जी अपहरणमा परेको प्रहरीलाई खबर गरेकी थिइन् । ती बालबालिकालाई अपहरणकारीले टोखा–९ शान्तिटोलस्थित होटल ब्लु स्टारको कोठा नम्बर ४०४ मा बन्धक बनाएका थिए । पक्राउ परेकामध्ये सिजापति चिनजानकै भएको खुलेको छ ।

 

Page 11
अर्थ वाणिज्य

माथिल्लो कर्णालीको विद्युत् खरिद बंगलादेशद्वारा स्वीकृत

विद्युत् खरिदका लागि बंगलादेशले भारतीय कम्पनी जीएमआरलाई एनभीभीएनमार्फत साढे ४ अर्ब डलर भुक्तानी दिनेछ
- विजय तिमल्सिना

(काठमाडौं) - बंगलादेशको मन्त्रिपरिषद् समितिले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको ५ सय मेगावाट विद्युत् भारतीय कम्पनीमार्फत किन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
प्रस्तावअनुसार बंगलादेशले प्रतिमेगावाट ७ दशमलव ७१ डलरमा खरिद गर्नेछ । बंगलादेशले २५ वर्षसम्म विद्युत् खरिद गर्ने त्यहाँको सञ्चार संस्था ढाका ट्रिब्युनले प्रकाशन गरेको समाचारमा उल्लेख छ । भारतीय कम्पनी एटीपीसी विद्युत् व्यापार निगममार्फत नेपालमा उत्पादित विद्युत् बंगलादेशले किन्ने भएको हो । बंगलादेशका अर्थमन्त्री मुस्तफा कमलको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले प्रस्ताव स्वीकृत गरेको हो । विद्युत् खरिदका लागि बंगलादेशले भारतीय कम्पनी जीएमआरलाई एनभीभीएनमार्फत साढे ४ अर्ब डलर भुक्तानी दिनेछ । लामो समयदेखि अन्योलमा रहेको माथिल्लो कर्णालीको विषयमा भएको पछिल्लो प्रगतिले आयोजना अगाडि बढ्ने आशा जगाएको छ ।
बंगलादेशको सरकारी निकाय पावर डेभलपमेन्ट बोर्ड र एनभीभीएनसले यसअघि नै विद्युत् खरिदबिक्रीका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । केही सातामै दुई कम्पनीबीच विद्युत् खरिदबिक्री सम्झौतामा हस्ताक्षर हुने माथिल्लो कर्णालीको प्रवर्द्धक कम्पनी जीएमआर स्रोतले जानकारी दिएको छ । बंगलादेशको सरकारी निकाय र भारतीय कम्पनी एनभीभीएनबीच विद्युत् खरिदबिक्री सम्झौता भएलगत्तै माथिल्लो कर्णालीका लागि आवश्यक वित्तीय व्यस्थापन हुने अनुमान छ ।
आयोजनाको भारतीय प्रवर्द्धक कम्पनी जीएमआरले अझैसम्म वित्तीय व्यवस्थापन गर्न सकेको छैन । जीएमआर र लगानी बोर्डबीच ०७१ असोज ३ मा आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको थियो । त्यसमा दुई वर्षभित्र जीएमआरले आयोजना निर्माणका लागि लगानी जुटाउने र लगानी जुटाएको पाँच वर्षमा आयोजना बनाइसक्ने उल्लेख छ । आयोजनाका लागि डेढ अर्ब डलर लागत अनुमान थियो ।
जीएमआरले विद्युत् आयोजनासहित भारतमा विद्युत् लैजान करिब १ हजार ८ सय किलोमिटर प्रसारण लाइन र सिँचाइका लागि रि–रेगुलेटिङ ड्याम पनि बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । जीएमआरलाई लगानी जुटाउन पछिल्लो पटक थपिएको म्याद गत वर्ष असोज ३ मा सकिएको छ । त्यसयता बोर्डले जीएमआरलाई लगानी जुटाउने समय थप्ने वा नथप्ने विषयमा निर्णय गर्न सकेको छैन ।
जीएमआरले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत आयोजनाको अनुमति पत्र पाएको थियो । आयोजनाबाट उत्पादित १२ प्रतिशत विद्युत् र आयोजनाको २७ प्रतिशत सेयर नेपाललाई निःशुल्क दिने प्रावधानसहित पीडीए गरिएको थियो । सम्झौतामा नेपालले निःशुल्क प्राप्त गर्नेबाहेक आयोजनाबाट उत्पादित थप ३० प्रतिशत विद्युत् किन्न सक्ने प्रावधान राखिएको छ । आयोजनाबाट सरकारले रोयल्टी र
करबापत २५ अर्बमा ४ अर्ब रुपैयाँ आम्दानी गर्ने अनुमान छ ।
जीएमआरले बनाउने माथिल्लो कर्णाली विद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिदका लागि भारत, बंगलादेश र नेपालबीच सरकारी संयन्त्रमार्फत पनि छलफल भएको थियो । बंगलादेशले खरिद गर्ने माथिल्लो कर्णालीको विद्युत् दररेटअनुसार नेपालबाट निर्यात हुने अन्य विद्युत्का लागि पनि आधार मूल्य हुने भएकाले यो सम्झौतालाई चासोसाथ हेरिएको छ ।
आफ्नो देशमा जारी ऊर्जासंकट निवारण गर्न बंगलादेशले नेपालबाट थप विद्युत् खरिद गर्ने र आफैंले पनि ऊर्जा क्षेत्रमा लगानी गर्ने प्रस्ताव गर्दै आएको छ । अछाम, दैलेख र सुर्खेत जिल्ला छुने गरी कर्णाली नदीमा बन्ने ९ सय मेगावाटको आयोजनाबाट सन् २०२१ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो । तर, वित्तीय व्यवस्थापनमा प्रवर्द्धक कम्पनीको असफलताका कारण आयोजना निर्माणमा ढिलाइ हुने पक्का भएको छ ।
जीएमआरले नेपालमा निर्माण गर्ने भनेको अर्को ६ सय मेगावाटको आयोजना माथिल्लो
मर्स्याङ्दी–२ बाट भने हात झिकिसकेको छ । आयोजना निर्माणका लागि जीएमआरको ८२ प्रतिशत सेयर स्वामित्व हुने गरी नेपालमा हिमताल हाइड्रो पावर कम्पनी स्थापना गरिएको थियो । हिमतालको नाममा आयोजनाको अनुमति पत्र जारी भएको छ । हिमतालले आफ्नो स्वामित्वको सेयर नेपाली कम्पनी बुटवल पावर कम्पनीसहित हङकङस्थित तीन कम्पनीलाई बिक्री गरेको हो । हिमतालले ३ अर्ब ५३ करोडमा सेयर स्वामित्व बेचेको हो ।

 

अर्थ वाणिज्य

‘एनसेलसँग तत्काल कर नअसुल’

अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको आदेश
- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– बाह्रौं पटकको पुँजीगत लाभांश कर विवादमा अन्तर्राष्ट्रिय मध्यस्थता गुहारेको एनसेलको पक्षमा अन्तरिम आदेश भएको छ । विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) ले बुधबार ठूला करदाता कार्यालयको कर निर्धारण र असुलीसम्बन्धी पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी
गरेको हो ।
ठूला करदाता कार्यालयले एनसेलमाथि कर निर्धारण गर्दै असुली प्रक्रिया अघि बढाएको छ । उक्त कार्यालयले एनसेललाई कर तिर्न १५ दिनको समय दिई गत मंसिर २० मा पत्र पठाएको थियो । उक्त पत्रमा एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर तिर्न भनिएको छ । उसका लागि दिइएको समय शुक्रबार सकिएको छ । कर असुलीको प्रक्रियालाई यथास्थितिमा राख्न आईसीएसआईडीले अन्तरिम आदेश जारी गरेपछि कर विवाद लम्बिने भएको छ । आईसीएसआईडीको पत्रका विषयमा सरकारी निकायलाई जानकारी छैन ।
आजियाटाले भने आफ्नो वेबसाइटमा विज्ञप्ति प्रकाशन गर्दै आईसीएसआईडीले आफ्नो पक्षमा फैसला गरेको दाबी गरेको छ । ‘कर असुल नगर्नू भन्ने कुनै पनि निकायको पत्र हामीलाई प्राप्त भएको छैन,’ ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले भने, ‘एनसेलका लागि तोकिएको १५ दिनको समय पूरा भइसकेको छ । अब आयकर ऐन–२०५८ मा उल्लिखित दफा प्रयोग गरी कर असुली प्रक्रिया अघि बढाउनेछौं ।’ आयात–निर्यात, कारोबार रोक्नेलगायत कर असुलीका प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ । सरकारलाई आईसीएसआईडीको पत्र तत्काल प्राप्त नभए पनि आजियाटाले केही दिनमा सरकारलाई अन्तरिम आदेशको पत्र बुझाउने अनुमान छ ।
सर्वोच्च अदालत र ठूला करदाता कार्यालयमा लाभ करको विवाद चलिरहँदा एनसेलको मातृ कम्पनी आजियाटाले सन् २०१९ मे २० मा अन्तर्राष्ट्रिय मध्यस्थकर्तालाई निवेदन दिएको थियो । कम्पनीको निवेदनमाथिको प्रक्रिया आईसीएसआईडीले २०१९ अक्टोबर १८ मा सुरु गरेको हो । आईसीएसआईडीले नेपाल सरकारलाई पत्र लेख्दै विवाद समाधान प्रक्रियामा जान भने पनि नेपाली पक्षले भने उक्त प्रक्रियामा भाग लिन अस्वीकार गरेको छ ।
आईसीएसआईडीको वेबसाइटमा उल्लेख भएको जानकारीअनुसार मध्यस्थता प्रक्रियाका लागि कोरियन नागरिक जोङ्गी किमलाई ट्रिब्युनलको अध्यक्ष नियुक्त गरिएको थियो । एनसेलले आफ्ना तर्फबाट बहसका लागि नेदरल्यान्ड्सका अल्बर्ट जन भान डेन बर्गलाई आर्बिट्रेटर नियुक्त गरेको थियो । नेपाली पक्षले सहभागिता नजनाएपछि आईसीएसआईडीले नै नेपालका तर्फबाट बहस गर्न अमेरिकी नागरिक पल फ्रेडल्यान्डलाई आर्बिट्रेटर नियुक्त गरेको थियो ।
ठूला करदाता कार्यालयले अघिल्लो पटक निर्धारण गरेको करमा चित्त नबुझाई एनसेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले अर्को फैसला सुनाएपछि फेरि नयाँ कर निर्धारण भएको थियो । सर्वोच्चको पूर्ण इजलासले गरेको फैसलाअनुसार एनसेललाई करिब १८ अर्ब रुपैयाँ कर छुट भएको छ । यो रकम छुट भई निर्धारण गरिएको करमा समेत अन्तर्राष्ट्रिय मध्यस्थताकर्ताको आदेशका कारण असुली प्रक्रिया अवरुद्ध हुने भएको छ ।

 

Page 12
अर्थ वाणिज्य

एक्स्पोमा ८ लाखको किवी बिक्री

- कान्तिपुर संवाददाता

सुनसरी (कास)– धरानको छाताचोकमा बिहीबार र शुक्रबार आयोजित किवी एक्स्पोमा करिब ८ लाख रुपैयाँ बराबरको फल बिक्री भएको छ ।
किवी खेती प्रवर्द्धन गर्न इलामबाट १५ जना अगुवा किवी किसान धरान आएका थिए । एक दर्जन स्टल रहेको एक्स्पोबाट किवीको राम्रो प्रवर्द्धन भएको इलामका किसान तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (किवी जोन) का महासचिव गंगाबहादुर विष्टले बताए । ‘धरानमा अपेक्षा गरेभन्दा बढी किवी बिक्री भयो । यसलाई उपभोक्ताले साह्रै मन पराए,’ उनले भने, ‘दुई दिनमै यति धेरै किवी खपत होला भन्ने सोचेका थिएनौं ।’ सुनसरी उद्योग वाणिज्य संघको सहकार्यमा इलाम उद्योग वाणिज्य संघले आयोजना गरेको एक्स्पोमा प्रतिस्टल ४० हजारदेखि ८० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

अर्थ वाणिज्य

फोरजी विस्तारमा एकतिहाइ मात्र काम

- कान्तिपुर संवाददाता

माघ मसान्तसम्म फोरजी विस्तार नसकिए पनि सबै जिल्लाका मुख्य सहरमा सेवा पुर्‍याउने टेलिकमको लक्ष्य छकान्तिपुर संवाददाता (काठमाडौं)
माघ मसान्तसम्म फोरजी विस्तारको काम नसकिने भएको छ । हालसम्म एकतिहाइ काम मात्रै सकिएको टेलिकमको तथ्यांक छ । माघ मसान्तसम्म सक्ने गरी अघिल्लो वर्ष फोरजी विस्तारको ठेक्का सम्झौता गरिएको थियो । हालसम्म ८ सय ३५ साइट र ५८ जिल्लामा फोरजी विस्तार भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । देशभर फोरजी विस्तारका लागि करिब ४ हजार २ सय बीटीएस टावरमा फोरजी प्रविधि राख्नुपर्छ । यीमध्ये करिब १५ सय टावरमा फोरजी सेवा विस्तार गरिएको टेलिकमले जानकारी दिएको छ ।
दसैं र तिहारका कारण बीचमा काम केही सुस्त भए पनि अहिले रेडियो एक्सेस नेटवर्क (र्‍यान) का लागि एक सय वटा टोली काममा खटिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए । ‘बीचमा केही सुस्त भए पनि अहिलेको कामको गतिमा हामी सन्तुष्ट छौं,’ उनले भने, ‘हरेक दिन नयाँनयाँ टावरमा फोरजी विस्तार भइरहेको छ ।’
माघ मसान्तसम्म फोरजी विस्तारको काम नसकिए पनि सबै जिल्लाका मुख्य सहरमा सेवा विस्तार सक्ने लक्ष्य रहेको उनको भनाइ छ । ‘त्यसपछि बाँकी ठाउँमा विस्तार हुन्छ,’ उनले भने, ‘सामान ल्याउने, परीक्षण गर्ने, सेवा विस्तार गर्ने र पुनः परीक्षण जस्ता काम गर्नुपर्छ । त्यसैले चरणबद्ध रूपमा काम गरिरहेका छौं ।’
करिब ४ हजार २ सय वटा टावरमा फोरजी विस्तार गर्ने र थप ६ सय ४० वटा बीटीएस टावर स्थापना गर्ने टेलिकमको लक्ष्य छ । नयाँ बनाउनुपर्नेमध्ये करिब २ सय टावरको काम भइरहेको अधिकारीले जानकारी दिए । ‘फोरजी विस्तारको काम एकै पटक सक्न गाह्रो छ,’ उनी भन्छन्, ‘पहिलो चरणमा केही स्थानमा राखेर ट्राफिक विश्लेषण गर्ने र आवश्यक परे टावरको स्थान पनि परिवर्तन गर्नुपर्ने हुन्छ ।’
१९ अर्ब रुपैयाँ खर्चेर टेलिकमले फोरजी विस्तार सुरु गरेको हो । यसका लागि रेडियो एक्सेस नेटवर्कको काम हङकङस्थित सीसीएसआई कम्पनी र कोर नेटवर्कको काम चिनियाँ कम्पनी जेडटीईले पाएको छ । कोर नेटवर्कको काम भने करिब सकिएको टेलिकमले जानकारी दिएको छ ।
टेलिकमले विस्तार गर्न लागेको फोरजीको औसत स्पिड १३० एमबीपीएस छ । यससँगै फोरजीसँग जोडिएका अन्य सेवा विस्तार गर्ने कम्पनीको योजना छ । ८ सय र १८ सय मेगाहर्ज ब्यान्डलाई एकीकृत गरिने टेलिकमले बताएको छ । यसले कुनै एउटा ब्यान्ड मार्त्र सपोर्ट गर्ने मोबाइलमा पनि फोरजी सेवा प्रयोग गर्न सकिनेछ ।
०७३ पुस १३ मा टेलिकमले काठमाडौं उपत्यका र पोखराबाट फोरजी/एलटीई सेवाको सुरु गरेको थियो । दुई ठाउँमा सेवा सुरु गरी परीक्षणपछि अन्यत्र विस्तार गर्ने टेलिकमको योजना लामो समय रोकिएको थियो । समयमै फोरजी विस्तार गर्न नसक्दा टेलिकमले उपभोक्ताका साथै आम्दानी पनि गुमाएको छ । पछिल्लो समय टेलिकमको आम्दानी पनि घट्दो छ । टेलिकमले देशैभर फोरजी सेवा विस्तारसँगै उसको सेवा र आम्दानीमा सुधार हुने अपेक्षा छ । पछिल्लो पटक प्रकाशित आर्थिक प्रतिवेदनले टेलिकमले आम्दानी गुमाउँदै गएको देखाएको छ । टेलिकमको नाफा गर्त वर्ष ४२ प्रतिशतभन्दा कम भएको थियो । आव ०७४/७५ मा १७ अर्ब ४९ करोड नाफा कमाएको सरकारी स्वामित्वको कम्पनीले गत वर्ष १० अर्ब २० करोड मात्रै खुद नाफा कमायो ।
टेलिकम सेवा प्रदायकले विदेशमा हुने कलको दर घट्दा आम्दानी र नाफा कम भएको दाबी गर्ने गरेका छन् । यस्तै इन्टरनेटमा आधारित विभिन्न एपमार्फत हुने कुराकानीले पनि टेलिकमहरूको आम्दानी प्रभावित पारिरहेको छ ।
आव ०७४/७५ को वार्षिक प्रतिवेदनअनुसार टेलिकमले उक्त वर्ष डाटा सेवातर्फ ७ अर्ब ६० करोड आम्दानी गरेको थियो । उक्त वर्ष इन्टरनेट सेवातर्फका ग्राहक करिब ३० प्रतिशत बढेको टेलिकमको तथ्यांक छ । गत आवमा टेलिकमको नाफा मात्रै नभई आम्दानी पनि घटेको छ । उक्त आवमा टेलिकमले ४३ अर्ब ४८ करोड आम्दानी गरेको थियो । यसअघि टेलिकमको आम्दानी ४५ अर्ब २६ लाख थियो । टेलिकमको सेवाबाट प्राप्त हुने आम्दानी पनि घटिरहेको छ ।
गत वर्ष टेलिकमले सेवा बेचेर मात्रै ३६ अर्ब ७८ करोड आम्दानी गरेको थियो । जुन त्यसभन्दा अघिल्लो वर्षको भन्दा सवा २ अर्बले कम हो । टेलिकमले आव ०७४/७५ मा सेवाबापत ३९ अर्ब आम्दानी गरेको थियो ।
अहिले ८ सय मेगाहर्ज ब्यान्डमार्फत फोरजी सेवा सुरु गरिने टेलिकमले जनाएको छ । यो ब्यान्ड घना बस्ती नभएका दुर्गम स्थानमा उपयोगी छ । ८ सय मेगाहर्ज ब्यान्डबाट सेवा दिँदा एउटै बीटीएस टावरले धेरै क्षेत्र ओगट्न सक्छ । सहरी क्षेत्रका लागि १८ सय मेगाहर्ज ब्यान्ड उपयुक्त हुन्छ । अहिले टेलिकमले काठमाडौं र पोखरामा १८ सय मेगाहर्ज ब्यान्डमार्फत फोरजी सेवा प्रदान गर्दै आएको छ ।

अर्थ वाणिज्य

रसुवागढीबाट १ खर्बको आयात

- बलराम घिमिरे

(रसुवा) - आव ०७२/७३ पछि चालु आवको पहिलो चौमासिकसम्म रसुवागढी नाका हुँदै १ खर्ब ९ अर्ब ५४ करोड ३६ लाख बराबरको सामान आयात भएको छ । सोही अवधिमा ४ अर्ब २५ करोड ४५ लाख १ हजार बराबरको सामान निर्यात भएको छ ।
भूकम्पपछि रसुवागढी नाका हुँदै बर्सेनि सामान आयात हुने क्रम बढेको रसुवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । रसुवागढी उत्तरी चीन जोड्ने सबैभन्दा पुरानो नाका हो । यहाँ २०१३ सालमै भन्सार स्थापना भएको थियो । पुरानो नाका भए पनि त्यति बेला रसुवागढीसम्म सडक पुगेको थिएन । चीन सरकारको सहयोगमा स्याफ्रु–रसुवागढी सडक निर्माण भएपछि नाका यातायात सञ्जालबाट जोडिएको हो ।
०७१ मंसिर १५ देखि नाका सञ्चालनमा आएको हो । ०७२ वैशाख १२ को भूकम्पले केही महिना रसुवागढी नाका बन्द भएको थियो । भूकम्पपछि चीनबाट हुने धेरैजसो आयात यही नाकाबाट हुने गरेको छ । आव ०७२/७३ मा रसुवागढी नाकाबाट १० अर्ब ६५ करोड ४५ लाख ३७ हजार मूल्य बराबरको सामान आयात भएको छ । उक्त आवमा ६१ करोड १५ लाख ५१ हजार बराबरको सामान निर्यात भएको थियो । साथै २ अर्ब ४४ करोड ६८ लाख ९ हजार राजस्व संकलन गरेको थियो ।
आव ०७३/७४ मा १५ अर्ब ९७ करोड १७ लाख ७६ हजार मूल्य बराबरको सामान आयात भएको छ भने ७७ करोड ५३ लाख ५६ हजार बराबरको सामान निर्यात भएको छ । उक्त आवमा २ अर्ब ९२ करोड १८ लाख राजस्व संकलन भएको छ । आव ०७४/७५ मा २२ अर्ब ६४ करोड ८७ लाख ६६ हजार बराबरको सामान आयात भएको छ भने १ अर्ब १६ करोड ६२ लाख ३२ हजार बराबरको निर्यात भएको छ । उक्त आवमा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व संकलन भएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ ।
आव ०७५/७६ मा ४० अर्ब ८५ करोड ११ लाख ३७ हजार बराबरको सामान आयात हुँदा १ अर्ब २० करोड ९६ लाख १६ हजार बराबरको सामान निर्यात भएको छ । उक्त आवमा भन्सारले १० अर्ब ६० करोड २४ लाख १९ हजार राजस्व संकलन गरेको छ । चालु आवको पहिलो चौमासिकमा १९ अर्ब ४१ करोड ७४ लाख ३६ हजार बराबरको सामान आयात भएको छ । निर्याततर्फ भने ४८ करोड १७ लाख ४६ हजार बराबरको सामान छ । पहिलो चौमासिकमा भन्सार कार्यालयले ५ अर्ब ५० करोड १२ लाख ५६ हजार राजस्व संकलन गरिसकेको छ । भन्सार विभागले आव ०७६/७७ का लागि रसुवा भन्सार कार्यालयलाई ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ । यो नाकाबाट विशेषगरी तयारी पोसाक आयात हुने गरेको छ । फलफूल, मेसिनरी सामान, इलेक्ट्रिक सामान, जुत्ता र चप्पल पनि आउने गरेको छ ।

अर्थ वाणिज्य

चित्लाङमा 'क्वाड बाइक'

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी पर्यटकीय गन्तव्य चित्लाङमा ‘क्वाड बाइक’ सञ्चालनमा ल्याइएको छ । विदेशमा मरुभूमिको यात्रामा प्रयोग गरिने क्वाड बाइक नेपालमै पहिलो पटक चित्लाङमा ल्याइएको व्यवसायी बताउँछन् ।
क्वाड बाइकले छोटो समयमै यहाँका प्राकृतिक सुन्दरता र ऐतिहासिक स्थल पुग्न सघाउने होटल व्यवसायी देवेन्द्र नेपालले बताए । उनले नै होटलमा क्वाड बाइकको सुविधा थपेका हुन् । एडभेन्चर गियर्स प्रालिले चीनबाट क्वाड बाइक खरिद गरी पर्यटन प्रवर्द्धनका लागि प्रयोगमा ल्याएको हो । थाहा नगरपालिका–९ स्थित चित्लाङ रिसोर्टका सञ्चालक नेपालले जोखिमपूर्ण खेलमा रमाउने पर्यटकका लागि क्वाड बाइकको व्यवस्था
गरिएको जानकारी दिए । करिब ७५ लाख रुपैयाँ खर्चेर ५ बाइक खरिद गरिएको उनले बताए ।
कच्ची र हिलो बाटोमा यात्रा गर्नेका लागि उपयुक्त उक्त चार पांग्रे बाइकमा चालकसहित दुई जना बस्न मिल्छ । एडभेन्चर गियर्स प्रालिले उक्त बाइकको भाडा दुई जनालाई प्रतिघण्टा ४ हजार र एक जनालाई ३ हजार रुपैयाँ निर्धारण गरेको छ । पर्यटकले मन पराएको खण्डमा क्वाड बाइक थप्ने योजना रहेको नेपालले बताए । एक पटक चित्लाङ घुमेर फर्किएका पाहुनालाई पुनः आउने वातावरण बनाउन आफूले विभिन्न योजना बनाइरहेको उनको भनाइ छ ।

अर्थ वाणिज्य

जाउलाखेलमा कियाको सोरुम

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले ललितपुरको जाउलाखेलमा शुक्रबारबाट सोरुम सञ्चालनमा ल्याएको छ । सेल्स, सर्भिस, स्पेयर पार्टससहितको सोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सोरुमको उद्घाटन गरे । किया सेल्टोसको मूल्य नेपाली बजारमा ४९ लाख ९० हजारदेखि ६६ लाख ९९ हजार रुपैयाँसम्म पर्ने कम्पनीले बताएको छ । 

अर्थ वाणिज्य

सीएनआई–सनराइज सम्झौता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल उद्योग परिसंघ (सीएनआई) र सनराइज बैंकबीच महिला उद्यमी व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । परिसंघका अध्यक्ष सतीशकुमार मोर र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकले महिला उद्यमीका लागि १५ लाख रुपैयाँसम्म सहुलियत कर्जा प्रदान गर्नेछ । 

अर्थ वाणिज्य

नेपाल फाइप पी एक्स्पो सुरु

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ‘नेपाल फाइभ पी अन्तर्राष्ट्रिय एक्स्पो’ शुक्रबारदेखि सुरु भएको छ । प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सम्बन्धित व्यापार व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं भृकुटीमण्डपमा आयोजित प्रदर्शनी आइतबारसम्म चल्नेछ । प्रदर्शनीमा १० भन्दा बढीका राष्ट्रबाट १५० भन्दा बढी अन्तर्राष्ट्रिय कम्पनीको सहभागिता छ । प्रदर्शनीको
प्रवेश निःशुल्क रहने आयोजकले बताएको छ ।

अर्थ वाणिज्य

सीजी ल्यान्डमार्कमा मल्टिप्लेक्स

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– चितवनको भरतपुर हाइटस्थित सीजी ल्यान्डमार्कको सिनेप्लेक्समा शुक्रबारदेखि मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएको छ । त्यसमा १४३ र २१९ सिट क्षमताका दुई हल छन् ।

अर्थ वाणिज्य

गोठाटारमा युनाइटेड फाइनान्स

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– युनाइटेड फाइनान्सले शुक्रबारदेखि काठमाडौंको गोठाटारमा २३औं शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सले गत आर्थिक
वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ७.५६ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

म्यारियट होटललाई अवार्ड

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौं म्यारियटले ‘होटल इन्डस्ट्री लिडरसिप अवार्ड–२०१९’ जितेको छ । वर्ल्ड मार्केटिङ कंग्रेसले प्रदान गर्ने यो अवार्ड होटलले पाएको पाँचौं अवार्ड रहेको जानकारी दिएको छ ।

Page 13
समाचार

कसरी छिर्‍यो एमसीसीमा संसदीय अनुमोदनको सर्त ?

- कान्तिपुर संवाददाता

(काठमाडौं) - अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता ‘राष्ट्रहितविरोधी कि राष्ट्रिय हितमा’ भन्ने विवाद सत्तारूढ नेकपाभित्र चर्किरहेका बेला यसलाई संसद्बाट अनुमोदन गर्ने प्रावधान किन राखियो भन्ने बहस भित्रिएको छ ।
नेपालको संविधानमा पूर्वाधार विकासका लागि एमसीसीसँग भएका जस्ता सम्झौता संसद्बाट अनुमोदन गर्नुपर्ने भनिएको छैन । वासिङटनमा सन् २०१७ मा हस्ताक्षरित औपचारिक सम्झौतापत्रमा पनि ‘संसद्बाट अनुमोदन गर्ने’ लेखिएको छैन । तर सम्झौताका दौरानमा नेपालका तर्फबाट हस्ताक्षरकर्ता तत्कालीन अर्थमन्त्री ज्ञानन्द्रबहादुर कार्कीलगायतले
संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैका आधारमा ०७५ माघ २५ मा मन्त्रिपरिषद्ले संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको हो । यो सम्झौता अनुमोदनका लागि गत असार ३० गते प्रतिनिधिसभामा दर्ता भइसकेको छ ।
पूर्वकानून सचिव सूर्यनाथ उपाध्याय संविधानको धारा २७९ मा सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थनका विषयमा स्पष्ट व्यवस्था हुँदाहुँदै एमसीसी सम्झौतालाई संघीय संसद्बाट अनुमोदन गराउँदा गलत हुने बताउँछन् । संविधानको धारा २७९ अनुसार शान्ति र मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सिमाना र प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँटलगायत विषयमा भएका सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन संघीय संसद्का दुवै सदनमा तत्काल कायम सदस्य संख्याको दुई तिहाइ बहुमतले गर्नुपर्छ । शान्ति र मैत्री तथा प्राकृतिक स्रोत तथा त्यसको उपयोग बाँडफाँटबारे ‘राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर नपर्ने साधारण प्रकृतिका सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन प्रतिनिधिसभाको बैठकमा उपस्थित साधारण सदस्यहरूको बहुमतबाट’ हुन सक्छ । ‘संविधानले नै आवश्यक नभनेको प्रावधान कहाँबाट राखियो ? कसले
संसद्मा लगेर एमसीसी सम्झौतालाई अनुमोदन गरिदिन्छौं भन्यो ?’ पूर्वसचिव उपाध्यायले भने, ‘त्यसमाथि सम्झौतापत्रमा पनि अनुमोदनको कुरा देखिएको छैन ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपाको स्थायी समिति बैठकमा संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धता गर्नुमा विगतमै केही कमजोरी भएको भन्ने आशयमा अभिव्यक्ति दिएका छन् । ‘स्वतन्त्र सञ्चालक निकाय बनाउनुपर्ने,
संसद्बाट अनुमोदन गर्नुपर्ने, भारतसँग समझदारी बनाउनुपर्ने र जग्गा अधिग्रहण/वातावरणीय मूल्यांकन समयमै हुनुपर्नेजस्ता सर्तमा वार्ताकै क्रममा छलफल गर्नुपर्थ्यो र अनुकूल बनाउनुपर्थ्यो,’ मन्त्री ज्ञवालीले बैठकमा पेस गरेको लिखित भनाइमा उल्लेख छ, ‘यतिबेला आएर विवाद गर्नु उचित होइन । सत्तारूढ पार्टीभित्र हिजो आफैंले आग्रह गरेर निर्णय भएको अनुदानबारे अन्यथा ढंगले छलफल हुनु अनुचित हो ।’
अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार एमसीसी अनुदान अमेरिकी संसद्बाट पारित भएर दिने गरिन्छ । त्यसैले अनुदान लिने मुलुकहरूले आ–आफ्नो संसद्बाटै सम्झौता अनुमोदन गराउनुपर्छ । अमेरिकी अधिकारीहरूले पहिलेकै प्रतिबद्धता र निर्णयअनुसार नेपालको संसद्ले पनि एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने धारणा राख्दै आएका छन् । गत असोज १० मा इन्स्टिच्युट अफ स्ट्राटेजी एन्ड सोसियो–इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको अन्तर्क्रियामा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले पूर्वसर्तअनुसार अनुदान सम्झौता संसद्बाट अनुमोदन हुन नसकेकामा निराशा व्यक्त गरेका थिए । उनले अन्य मुलुकले पनि संसद्बाटै अनुमोदन गरेर एमसीसीमार्फत सहयोग लिएको बताएका थिए । राजदूत बेरीले दुई मुलुकबीचको लामो संवाद र सहकार्यपछि पनि यो कार्यक्रमलाई केही गलत सूचना र आशंकाका कारण गलत रूपमा लान खोजिएकामा आफ्नो ध्यान गएको बताएका थिए । ‘नेपालले अमेरिकालाई एमसीसीका लागि आग्रह गरेको हो,’ उनले भनेका थिए, ‘नेपाली नेताहरूले यो सहयोग चाहिँदैन भन्छन् भने त्यसमा सार्वभौम निर्णय लिन सक्छन् । हामी नेपालको सार्वभौमिकताको निर्णयलाई सम्मान गर्छौं ।’ राजदूत बेरीले अमेरिकी सरकारको सहयोग लिनबाट पछि हट्नु नेपाल, नेपाली र अमेरिकाका लागि पनि ठूलो क्षति हुने धारणा पनि राखेका थिए ।
असोज अन्तिम साता कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेको सरकारले गरेको वाचाअनुसारै एमसीसी सम्झौता संघीय संसद्बाट अनुमोदन गरिने बताएका थिए । उनले संसद्मा दर्ता भइसकेको सम्झौतालाई तत्कालीन सभामुख कृष्णबहादुर महराले अनुमोदन प्रक्रियामा नबढाएर ‘अलि बेठिक’ गरेको टिप्पणी गरेका थिए ।
अमेरिकी दूतावासकी प्रवक्ता एन्डी डी अर्मेटले संसद्बाट अनुमोदन आवश्यक सर्त भएको बताइन् । ‘पहिले नै नेपालले अनुमोदन गर्ने सिद्धान्तमा सहमति जनाएको छ,’ उनले कान्तिपुरसँग भनिन्, ‘एमसीसी सम्झौता
संसद्बाट अनुमोदन नभई अघि बढ्न सक्दैन ।’
नेकपाको जारी स्थायी समिति बैठकमा देव गुरुङ, भीम रावललगायतले एमसीसीलाई ‘इन्डो–प्यासिफिक रणनीति’ को अंग भएको आशंका गरेका छन् । परराष्ट्रमन्त्रीले ज्ञवालीले भने यो ‘इन्डो–प्यासिफिक राण्नीति’ अन्तर्गत नभएको स्पष्टीकरण दिएका छन् । उनले सन् २००२ मा जर्ज बुसले एमसीसी घोषणा गरेको र सन् २००४ मा अमेरिकी कंग्रेसले स्थापना गरेको जानकारी गराएका छन् । नेपालले सन् २००८ बाट पहल गरेको, सन् २०११ मा नेपाल यो सहयोग लिन योग्य ठहरिएको उनको भनाइ थियो । एमसीसी सम्झौता नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रको संयुक्त सरकारका पालामा भएको थियो ।

समाचार

एक चौथाइले गर्दैनन् नवीकरण

स्वास्थ्य बिमा
बिमा सुविधामा जँचाउन जाँदा पर्याप्त औषधि नपाउने, विशेषज्ञ चिकित्सकसँग देखाउन नपाइनेजस्ता गुनासा
- अतुल मिश्र

(काठमाडौं) - स्वास्थ्य बिमा बोर्डबाट बिमा गराएका करिब एक चौथाइले अर्को वर्ष नवीकरण नगर्ने गरेको पाइएको छ । बिमा सुविधाको स्वास्थ्य सेवाबाट सन्तुष्ट हुन नसकेकाले उनीहरूले नवीकरण नगरेको विशेषज्ञहरूले बताएका छन् ।
स्वास्थ्य बिमा बोर्ड, टेकुका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार स्वास्थ्य बिमा गराउनेको संख्या करिब २५ लाख पुगेको छ । उनले बिमा गराएकामध्ये करिब २५ प्रतिशतले अर्को वर्ष नवीकरण नगर्ने गरेको बताए ।
सुनसरीको इटहरी–१४ का दुखीलाल चौधरीले स्वास्थ्य बिमा हुँदाहुँदै पनि छोराको उपचारमा ६० हजार रुपैयाँ खर्च गर्नुपरेको सुनाए । ‘छोरालाई मेनेन्जाइटिस भएको थियो । स्वास्थ्य बिमा प्याकेजमा छैन भनेर अस्पतालले पेनिसिलिनको औषधि किन्न लगायो,’ उनले कान्तिपुरसित भने । वडा सदस्यसमेत रहेका उनले बिमा गरिएपछि जुनसुकै औषधि जुनसुकै अवस्थामा पनि निःशुल्क पाउनुपर्ने बताए । ‘बिमाको प्याकेजमा सस्तो औषधि मात्र दिनुको अर्थ छैन,’ उनले भने, ‘निःशुल्क औषधिउपचार नपाए साहु महाजनलाई गुहार्नुपर्छ, महँगो ब्याज तिर्नुपर्छ ।’
इटहरीकै सञ्जीव खड्काले बिमाअन्तर्गत जँचाउन जाँदा पर्याप्त औषधि नपाउने वा औषधि नै नपाउने, विशेषज्ञ चिकित्सकसँग देखाउन नपाउनेजस्ता समस्या रहेको गुनासो गरे । उनले नोबेल मेडिकल कलेज विराटनगरमा बिमाअन्तर्गत हालै उपचार गराउन जाँदा ९ सय रुपैयाँ जतिको औषधि किन्नुपरेको बताए । ‘नोबेल मेडिकल कलेज, विराटनगरमा बिमाअन्तर्गत उपचार गराउन जाँदा पर्याप्त औषधि पाइँदैन । बजारबाट किन्नुपर्छ,’ उनले भने, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा सबै औषधि आफैंले बाहिरबाट किन्नुपर्ने बाध्यता छ ।’
खड्काले विशेषज्ञ सेवा लिन पनि नपाइने गरेको बताए । ‘बिमाअन्तर्गत जाँदा भर्खर एमबीबीएस गरेकाहरूसँग जँचाउनुपर्छ । विशेषज्ञ चिकित्सकसँग जँचाउन पैसा तिर्नुपर्छ,’ उनले भने । इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बिमा गराउनेक्रम बढे पनि बिमितले सेवा पर्याप्त नपाएको बताए । ‘बिमा गराउँदा भनिएको प्याकेजअनुसार सेवा बिमितले पाउन सकेका छैनन्,’ उनले भने । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले देशभरिबाट बिमितको गुनासो आइरहेको सुनाए । ‘स्वास्थ्य बिमा अत्यावश्यक भए पनि अपेक्षा गरिएजति सफल हुन सकेको छैन,’ उनले भने, ‘समयमै सचेतता नअपनाए समस्या झन् बढ्छ ।’
बिमा गराएकाहरूले निजी वा सरकारी स्वास्थ्य संस्थामार्फत पाइरहेको सेवा प्रभावकारी भए/नभएको विषयमा बिमा बोर्डले नियमित अनुगमन गर्नुपर्ने विज्ञहरू औंल्याउँछन् । ‘बिमितबाट पैसा लिने बिमा बोर्डले कबोल गरिएअनुसार सेवा उपलब्ध भयो कि भएन भनेर हेर्नुपर्छ,’ प्रदेश–५ को स्वास्थ्य निर्देशनालयका डा. विनोदकुमार गिरीले भने । कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाले एक चौथाइले स्वास्थ्य बिमा नगराउनु राज्यका लागि चिन्ताको विषय भएको बताए । बिमा बोर्डका कार्यकारी निर्देशक पोखरेलले गुणस्तरीय सेवा उपलब्ध गराउन नसक्दा बिमाको विश्वसनीयता नबढेको स्वीकार गरे । ‘कतिपय स्वास्थ्य संस्थाले फार्मेसी सञ्चालनमा ल्याउन नसक्नु र कतिपयमा पर्याप्त औषधि मौज्दात नहुनुजस्ता कारणले बिमा कार्यक्रमप्रति नकारात्मक धारणा बन्न थालेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा बिमितहरूको स्वास्थ्य सेवामा सहज पहुँच छैन ।’ सरकारले ४९ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ । कार्यक्रम थप ११ जिल्लामा लागू हुने क्रममा छ । स्वास्थ्य बिमाका लागि मुलुकभर ३ सय ७५ स्वास्थ्य संस्था सूचीकृत छन् ।

Page 14
समाचार

टोपेनीको गुफा जिन्दगी

छोरीलाई आनी बनाउने परम्पराले उनीहरुको विद्यालय शिक्षा पूरा हुन पाउँदैन । समाजभन्दा पृथक् संस्कार थामेर बस्नुपर्ने बाध्यता छ ।
- छपाल लामा,राजबहादुर शाही
हुम्लाको नाम्का गाउँपालिकामा रहेको याल्बाङ गुम्बाका आनीहरू । तस्बिर सौजन्य ः पदम लामा

(हुम्ला/मुगु) - गाउँभन्दा एक घण्टा टाढाको एकतले गुफा । यहाँ वृद्धा आनीलाई भेटिन्छ । उनी सिमकोट गाउँपालिका–३ की ७० वर्षीया छिरिङडोमा लामा हुन् । १३ वर्षको उमेरमै आनी बनेकी । लामाकहाँ पुगेर कपाल काटेर चढाएपछि उनले जीवनभर विवाह नगर्ने निर्णय गरिन् । गुफामा उनको जीवन बितेको छ ।
‘कपाल काटेदेखि ज्ञान जपेर गुफाभित्रै बस्ने निर्णय गरेकी हुँ,’ उनले भनिन्, ‘१५ वर्षसम्म लामासँग शिक्षा लिएपछि अहिले गुफामै बसेर आफ्नो ज्ञान अरूलाई बाँड्दै आइरहेकी छु ।’ आनी परम्परा थामेकाहरूमा उनी एक्ली होइनन् । सिमकोट र नाम्खा गाउँपालिकाका लामा समुदायका छोरीले सानै उमेरमा आनी (टोपेनी) बन्नुपर्छ । नाम्खामा लामा समुदायको मात्रै बसोबास छ । जीवन गुम्बा वा गुफामै बित्छ ।
नाम्खा गाउँपालिका–४ यांगारस्थित नाम्ख्वाङ पेमा होत्साल छ्योलिङ गुम्बामा एक सय ४० जना आनी बस्छन् । सिमकोट र नाम्खाका विभिन्न गाउँका गुम्बा र बाहिरका गुफामा बस्दै आएका आनीको संख्या ७० जनाभन्दा बढी छ । जिल्लाभर दुई सय १० जना आनीले लामा पुस्तक (छ्यो) अध्ययन गरिरहेको सरकारी तथ्यांक छ ।
बौद्ध धर्मअनुसार ‘पाप गर्नु हुँदैन, पाप गरे अर्को जुनीमा नराम्रो हुन्छ’ भन्ने विश्वाससहित आनी बनेर जीवन बिताउनुपर्ने परम्परा रहेको सिमकोट–३ लाङ्दुकी ५५ वर्षीया आनी पुडिन लामा बताउँछिन् । आफूजस्तै धर्मकर्ममा विश्वास गर्ने युवतीको संख्या बढ्दै गएको उनले सुनाइन् । लामा समुदायमा छोरा मान्छे लामा (टोप्या) बने इच्छाअनुसार विवाह गर्न पाउने भए पनि आनी बनेकाहरू जीवनभर पवित्र भएर बस्नुपर्ने संस्कार छ । ‘आनीको जीवनशैली लामा समुदायका अरू छोरीहरूको धेरै फरक हुन्छ,’ उनले भनिन्, ‘आनी बनेपछि अरूजस्तो खुलेर हिँड्डुल गर्न र जीउन पाइँदैन ।’ आनी बनेर तपस्यामा बसिसकेपछि पुस्तकमार्फत ज्ञान आर्जन गर्ने र तोकिएको सीमाभन्दा बाहिर जान नपाउने उनले सुनाइन् ।
आनी छिरिङ डोमाका अनुसार शरीरको तल्लो भागमा रातो रंगको ‘स्यादाब’, माथिल्लो भागमा पहेँलो रङको ‘तेतोङ’ र दोपटाबाहेक अन्य पहिरन आनीले लगाउन पाउँदैनन् । उनले आनी बन्दा सुरुमा ऊनबाट बनाएको कपडा र जुत्ता मात्र लगाएको सुनाइन् । ‘दैनिक बौद्ध धर्मका मन्त्र जप्ने र पुस्तक पढ्ने काम मात्र गर्नुपर्छ,’ उनी भन्छिन्, ‘आनी बनेर तपस्यामा बस्दा मूलको पानी मात्र खानुपर्ने नियम छ ।’ माटोको ढलान गरिएको गुफामा पानी र हिउँ पर्दा चुहिने समस्या छ ।
तीन वर्षसम्म गुम्बामा तपस्या गरेपछि आनी बनेर थप १२ वर्ष विभिन्न धर्मग्रन्थ पढ्नुपर्ने नियम छ । ज्ञानमा परिपक्व आनीले मात्र गुफा बस्न पाउँछन् । ६ महिनादेखि तीन वर्षसम्म तपस्या गरेर गुफाभित्र बस्दा उनीहरू कोहीसँग बोल्न पाउँदैनन् । भिक्षु पदम लामाका अनुसार तपस्याका नियममा बस्नु सहज हुँदैन ।
‘गुफामा बस्दा पूजा गर्ने, पुस्तक पढ्ने र मन्त्र जप्नेबाहेक अरू सामान्य जीवनयापन गर्नेले जस्तो सांसारिक कुनै क्रियाकलाप नपाइने नियम छ,’ उनले भने । विहान पूजापछि भोटे चिया, उवाको सातु र थुप्पालगायत परिकार खाजा खान्छन् । आनीका लागि परिवार, आफन्त र छिमेकीले खानाको जोहो गरिदिन्छन् । आनीले समुदायमा पूजापाठ गरिदिएबापत खाद्यवस्तु, लत्ताकपडा र दक्षिणा पाउँछन् । जीवनमा कुनै पाप नहोस् भनेर आनी बने पनि कडा नियमभित्र बाँच्न सहज नभएको सिमकोट–३ तोर्पाकी ७० वर्षीया आनी उर्ग्यान लामाले बताइन् । आनी बनेर बस्दा बिहेको झन्झटबाट मुक्ति पाए पनि बुढेसकालमा भने सहाराविहीन हुनुपर्ने बाध्यता रहेको उनको गुनासो छ । ‘युवा अवस्थामा एक्लो भए पनि आफन्त र घरपरिवारले सहयोग गर्छन् । सहयोग नपाइए पनि आफैं बाँच्न सकिने स्थिति हुन्छ,’ उनले भनिन्, ‘बुढेसकालमा सहारा नभई नहुने रहेछ ।’ आनीलाई धार्मिक सोच र संस्कारबाहेक अन्य कुनै कुराको मतलब नहुने
उनी बताउँछिन् ।

समाचार

सीप परीक्षणमा ६ हजार ७ सय उत्तीर्ण

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– दक्षिण कोरियाको सीप परीक्षणमा ६ हजार ७ सय ७३ जना उत्तीर्ण भएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको भाषा परीक्षामा उत्तीर्ण १२ हजार १० जनाको भिडियोबाट सीप परीक्षण गरिएको थियो । कोरियाको मानव संसाधन विभागले अन्तिम नतिजा प्रकाशन गरेको हो । उत्पादन र कृषि क्षेत्रमध्ये कुनमा कति उत्तीर्ण भएको भन्ने खुलाइएको छैन । कोरियाले यसै वर्षदेखि सीप परीक्षण सुरु गरेको हो ।

समाचार

प्रधानसेनापति बंगलादेश जाँदै

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानसेनापति पूर्णचन्द्र थापाले पुस २७ देखि माघ १ सम्म बंगलादेशको भ्रमण गर्ने भएका छन् । मन्त्रिपरिषद्को बैठकले थापाको भ्रमण स्वीकृत गरेको हो । 

समाचार

डा.भट्ट पुरस्कृत

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.यादवकुमार देव भट्टलाई ०७६ सालको ‘विज्ञान पुरस्कार’ प्रदान गरेको छ । नास्टको ४३ औं प्राज्ञसभाको निर्णयअनुसार मुलुकमा मुटुसम्बन्धी रोगको बिनाशल्यक्रिया उपचार गर्ने उच्चस्तरीय प्रविधि सुरुवात, प्रवर्द्धन र विकास गरी योगदान पुर्‍याएकामा उनलाई पुरस्कृत गरिएको हो ।

समाचार

समूह स्थापना

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– श्रम रोजगारको क्षेत्रमा रिपोर्टिङ गर्दै आएका पत्रकारले श्रम, रोजगार पत्रकार समूह स्थापना गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा पत्रकार सुनील न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको छ । उनी देशपरदेश डटकमका सम्पादक हुन् । समितिमा कान्तिपुर दैनिकका होम कार्की उपाध्यक्ष, राष्ट्रिय समाचार समितिका अशोक घिमिरे महासचिव, साझा सवालका मनोज पराजुली सचिव र गोरखापत्र दैनिकका सीतादेवी शर्मा कोषाध्यक्ष छन् । रवीन्द्र घिमिरे (अनलाइनखबर), चन्दन मण्डल (द काठमान्डु पोस्ट), सञ्जिता देवकोटा (उज्यालो एफएम), गोपाल संग्रौला (कारोबार दैनिक), रीतु थेवे र उजिर कार्की सदस्य छन् ।

समाचार

पुरस्कार स्थापना

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– श्री मिश्री–विजय फाउन्डेसनले नेपाल पत्रकार महासंघमार्फत वार्षिक रूपमा एक जना पत्रकारलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । दुई संस्थाबीच बिहीबार ‘भक्तलाल–तुल्सीमाया स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने सहमति भएको हो । सहमतिपत्रमा महासंघका अध्यक्ष गोविन्द आचार्य तथा फाउन्डेसनका अध्यक्ष विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहिद गंगालाल श्रेष्ठका कान्छा भाइ तथा मिश्री–फाउन्डेसनका अध्यक्ष विजयलालले आफ्ना मातापिताले गरेको योगदानको सम्झनामा पुरस्कार स्थापना गरेको बताए ।

समाचार

विमानस्थलका लागि निजगढको विकल्प खोज

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– संघीय समाजवादी पार्टीको विज्ञ परिषद्ले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढको विकल्प खोज्न आग्रह गरेको छ । परिषद्ले हतार–हतार लाखौं रूख काट्ने गरी काम अघि बढाउन नहुने सुझावसहितको प्रतिवेदन पार्टीको केन्द्रीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको छ । परिषद्ले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन, स्थलगत अध्ययन, स्थानीय र विशेषज्ञहरूसँग छलफल गरेर प्रतिवेदन बनाएको अध्ययनमा संलग्न विज्ञले दिएका छन् । 

Page 15
खेलकुद

पोखरा र चितवनको फरक अवस्था

- कुशल तिमल्सिना
धनगढी ब्लुजविरुद्ध ब्याटिङ गर्दै चितवनका आरिफ शेख (बायाँ) । पोखरा पल्टनको विकेट लिएपछि बुटवल ब्लाटर्सका खेलाडी । तस्बिर ः हेमन्त श्रेष्ठ/कान्तिपुर

(पोखरा) - पोखरा प्रिमियर लिग क्रिकेट (नमस्ते पीपीएल) को पहिलो सिजनको फाइनलिस्ट टोली हुन्, पोखरा पल्टन र चितवन राइनोज । यस संस्करणमा साबिक विजेता पोखरा लगातार हारको निराशामा रहँदा चितवनले लगातार जितको खुसी मनाइरहेको छ । पोखराका लागि प्रतियोगिताको लिग चरण पार गर्न अरुको नतिजा भर पर्नुको विकल्प छैन । सुरुआती तीन जितपछि चितवनको प्लेअफ सम्भावना बलियो बन्दैछ ।
शुक्रबार पोखरा रंगशालामा शरद भेषावकरको कप्तानीमा पोखरा पल्टनले बुटवल ब्लास्टर्ससँग ८ विकेटको हार बेहोर्‍यो । दोस्रो खेलमा चितवनले धनगढी ब्लुजमाथि ५२ रनको जित पायो । पोखरा यसपल्ट फाइनल नपुगेमा यो पहिलो नेपाली फ्रेन्चाइज क्रिकेट लिग हुनेछ, जहाँ शरद भेषावकर हुने छैनन् ।
पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सविरुद्ध १ सय १७ रनको लक्ष्य पछ्याउँदा ९ विकेटको जित निकालेको पोखराले त्यसयता तीनै खेलमा खराब ब्याटिङ गरिरहेको छ । कप्तान शरदले पनि स्विकारेका छन् कि ब्याटिङकै कारण टिमले लगातार हार्नुपरेको छ ।
‘तीन खेल हामी हारेको ब्याटिङ राम्रो गर्न नसकेर हो । आज पनि हामीले १ सय ४० रनजति प्रहार गर्नुपर्थ्यो । मुख्य ब्याट्सम्यानहरू नचल्नु नै हाम्रा लागि समस्या रह्यो । यो प्रतियोगितामा हाम्रो टिमले सही गति लिइरहेको छैन । अन्तिम खेल एउटा बाँकी छ । पूर्ण रूपमा जितको प्रयासमा खेल्नेछौं,’ कप्तान शरदले भने ।
कप्तान शरद, अनुभवी विनोद भण्डारी र विदेशी रविइन्दर सिंहमा धेरै हदसम्म निर्भर छ पोखरा पल्टन । यी तीनैले अहिलेसम्म ठूलो इनिङ्स खेल्न सकेका
छैनन् । शरदले केही अलराउन्डर विदेशी खेलाडीको अनुबन्धको प्रयास अन्तिम समयमा रद्द हुँदा कठिन भएको पनि सुनाए ।
ढाडको समस्याका कारण नियमित कप्तान सोमपाल कामीले खेल्न नसकेपछि बुटवलको कप्तानी जिम्मेवारी पाएका सिद्धान्त लोहनीले बिहान टस जितेर पोखरालाई ब्याटिङ गर्न बोलाए । पोखराले ५ विकेट गुमाई १ सय २१ रन बनाउँदा रविइन्दरले ४५ रन जोडे । कुशल भूर्तेल इनिङ्सको दोस्रो बलमै खाता नखोली आउट भए । अनुभवी ब्याट्सम्यानद्वय कप्तान शरद र विनोद भण्डारी क्रमशः ७ र ३ रनमै पेभेलियन पुगे । १३ रन बनाएर अर्का ओपनर इशान पाण्डे पेभेलियन फर्कंदा पोखरा पल्टन ३२–४ को स्थितिमा थियो ।
रविइन्दर र रोहितकुमार पौडेलले पाँचौं विकेटमा ३७ रनको साझेदारी गरी इनिङ्स उकास्ने प्रयास गरे । रोहित १९ रनको व्यक्तिगत स्कोरमा आउट भए । उनले १८ बलमा १ चौका र १ छक्का प्रहार गरे । रोहित आउट भएपछि आएका प्रथमेस डाकेसँग रविइन्दरले ५२ रनको अविजित साझेदारी गरेपछि पोखराले १ सयको स्कोर पार गरेको थियो । रविइन्दर ४५ र डाके २० रनमा
अविजित रहे । धनगढीका हर्ष टंकले २ विकेट लिए । ललित राजभण्डारी, शिवम् सिंह र नितेश थापाले १–१ विकेट झारे । जवाफमा अफतावउद्दिन अहमदले विष्फोटक अर्धशतकीय इनिङ्स खेलेपछि बुटवलले १४ ओभरमा २ विकेट गुमाएरै खेल जित्यो । अहमदले ४६ बल खेलेर १२ चौका र २ छक्का सहयोगमा ७५ रन बनाए । उनले शंकर रानासँग पहिलो विकेटमा ८७ रनको साझेदारी गरे ।
शंकरले १९ रन जोडेर आउट भएपछि आएका भीम सार्कीसँग दोस्रो विकेटमा १९ रनको साझेदारी गरे । भीम १० रनमा अविजित रहे । हर्ष टंकले छक्का प्रहार गर्दै टिमलाई ८ विकेटको जित दिलाए । पोखराबाट रशिद खान र प्रथमेस डाकेले १–१ विकेट लिए ।
‘हाम्रो टिममा युवा खेलाडी बाहुल्य छ । फिल्डमा पनि सबैले शतप्रतिशत प्रयास गरे । अफतावउद्दिनले निकै राम्रो खेले । सबै श्रेय उनैलाई जान्छ,’ कप्तान सिद्धान्तले थपे, ‘हामीले विपक्षीको स्तरभन्दा पनि आफ्नो खेल राम्रो गर्ने प्रयास गरिरहेका छौं । अघिल्लो
खेलमा हामीले हारेका थियौं, त्यसबारे हामीले पर्याप्त छलफल गरेका थियौं । गल्ती सुधारेर जित्न सक्यौं ।’
चितवनको जित
पोखराको नियति विपरीत चितवन राइनोजको ब्याटिङपंक्ति सशक्त छ । टस जितेर ब्याटिङ गरेको चितवन कुनै समय कम स्कोरमा समेटिने स्थितिमा थियो । चितवनले १५ ओभरमा ५ विकेट गुमाई १ सय ९ रन बनायो । तर आरिफ शेख र सन्नी पटेलले छैटौं विकेटमा अन्तिम ५ ओभरभित्र ७२ रनको साझेदारी गरेपछि चितवनले विशाल योगफल तयार पार्‍यो । अघिल्लो खेलमा बुटवल ब्लास्टर्सविरुद्ध प्रतियोगिताकै धेरै २ सय ३ रन जोडेको चितवनले उस्तै लय कायम राख्यो ।
म्यान अफ द म्याच आरिफले २० बलमा अविजित ४७ रन जोड्दा ४ छक्का र २ चौका प्रहार गरे । सन्नीले १७ बलमा १ चौका र ३ छक्कासहित ३२ रन बनाए । ओपनर रोहन मुस्तफा ९ र कप्तान पारस खड्का २३ रनमा आउट भए । बाबर हायतले २८ बलमा ३६ रन जोडे । हरिशंकर साह ८ र अनिलकुमार साह १९ रनमा आउट भए । धनगढीका अनिल खरेल र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए ।
१ सय ८२ रनको ठूलो लक्ष्य पछ्याएको धनगढीले ८ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सक्यो । ओपनर सुवेन्दु पान्डे र तेस्रो नम्बरमा आएका
श्रीमान्था विजयरत्ने खाता नखोल्दै आउट भएपछि धनगढी सुरुमै समस्यामा परेको थियो । पहिलो बलमै सुवेन्दु रनआउट भए । उनी एक बल पनि नखेली पेभेलियन फर्केपछि आएका विजयरत्जेलाई करण केसीले एलबीडब्लूे धरापमा पारे ।
अर्का ओपनर रोड्रिगो थोमस र कप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा ५५ रनको साझेदारी गर्दै इनिङ्स उकासे । आठौं ओभरको तेस्रो बलमा थोमस २४ रनको स्कोरमा सन्नी पटेलको बलमा बोल्ड भए । लगत्तै अर्को बलमा सन्दीप रजालीलाई उनै सन्नीले बोल्ड गरे ।
पाँचौं विकेटमा दीपेन्द्रले सन्दीप जोरासँग ३८ रनको साझेदारी गरे । संयमित इनिङ्स खेलिरहेका कप्तान दीपेन्द्र ४९ रनको व्यक्तिगत स्कोरमा क्याचआउट भए । ४२ बलमा ४ चौका र २ छक्का प्रहार गरेका उनी १३.२ ओभरमा भुवन कार्कीको बलमा आउट भए । २ ओभरपछि भुवनले सन्दीपलाई पनि २१ रनको स्कोरमा कट एन्ड बोल्ड गरे । सौरभ खनाललाई भुवनले ३ रनमै बोल्ड गरे । कमलसिंह ऐरीलाई ९ रनमा करण केसीले आउट गरे । अमित यादव १७ रनमा अविजित रहे ।
‘बलिङमा अन्तिम २ ओभर हामीलाई महँगो पर्यो, त्यसैले ठूलो स्कोर बन्यो । ब्याटिङमा पहिलो ओभरमै लगातार २ विकेट झरेपछि हामी थप दबाबमा देखियौं,’ कप्तान दीपेन्द्रे थपे, हामीले दुई खेल हारेका छौं । यसलाई बिर्सेर आगामी खेलमा कसरी राम्रो गर्न सकिन्छ, सकारात्मक नतिजाको प्रयास गर्नेछौं । ’
चितवनका कप्तान पारसले लगातार तीन जितका बाबजुद ढुक्क हुने स्थिति अझै नरहेको बताए । ‘एक दिन राम्रो भयो भनेर सधैं राम्रो हुन्छ भन्ने छैन । तर हामीले तीन खेलसम्म सकारात्मक नतिजा कायम राख्न सकेका छौं,’ उनले थपे, ‘हामीले निकै राम्रो क्रिकेट खेल्यौं । सबै अवस्थामा हाम्रा खेलाडीले आ–आफ्नो जिम्मेवारी सफलतापूर्वक निभाइरहेका छन् । हामीले जे गरिरहेका छौं, सबै खुसी छौं ।’
कप्तान पारसले आरिफको प्रदर्शनप्रति प्रशंसा गरे । मध्यक्रममा नियमित प्रदर्शन गरिरहेका आरिफ पछिल्लो समय आफ्नो ब्याटिङ शैलीलाई आक्रामक बनाउने प्रयासमा छन् । पारसले पनि आरिफको प्रदर्शनमा ६ महिनादेखि उल्लेख्य सुधार देखेका छन् । म्यान अफ द म्याच प्रदर्शनबारे आरिफले चाहिँ यसो भने, ‘मैले पाएको जिम्मेवारी पूरा गरेंजस्तो लागेको छ । अन्तिमसम्म ब्याटिङ गर्न सक्नु ठूलो पक्ष हो,’ आफ्नो पछिल्लो लयबारे उनले थपे, ‘म आफ्नो जिम्मेवारीमा बढी केन्द्रित हुन्छु । पावर प्लेमा जाँदा मेरो अर्कै जिम्मेवारी हुन्छ । पावर प्लेपछि जाँदा खेललाई कसरी अन्तिमसम्म लैजाने भन्ने हुन्छ ।’

खेलकुद

फरक छन् मिनामिनो

लिभरपुलमा यसै साता अनुबन्धित जापानी स्टार ताकुमी मिनामिनो साल्सबर्गबाट खेल्दा । तस्बिर ः रोयटर्स

(टोकियो) - ताकुमी मिनामिनो विजेता खेलाडी हुन् । अझ भनौं, जितका लागि लोभी छन् । उनलाई हार मनपर्दैन । यो यस्तो विशेषता हो, जसका कारण यी जापान विंगर लिभरपुल पुगेका छन् । यो त्यही क्लब हो, जसले इंग्लिस प्रियिमर लिगका आफ्नो पछिल्ला ३४ खेलमा हारको मुख देख्नुपरेको छैन । यो माथिल्लो डिभिजनमा क्लबको लिगमा अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन हो । मिनामिनोको जीवनमा खाली एउटै लक्ष्यमात्र छ, फुटबल खेल्ने ।
एकपल्ट सानो छँदा सुसेल कुमाटोरीबाट खेल्दा उनलाई सब्स्टिच्युट गरिएको रहेछ । ती फुच्चे केटाले प्रशिक्षकलाई सोधेछन् ‘किन मलाई निकाल्नु भएको ? म बढीभन्दा बढी खेल्न चाहन्छु । किनभने मलाई फुटबलको माया छ ।’ मिनामिनो यस्तै खेलाडी हुन् । जापानी फुटबलमा उनले त्यो बेला सोधेको प्रश्न अहिले कुनै पनि स्तरको खेलमा असम्भवजस्तै छ । अझ त्यो कलिलो उमेरमा त कल्पना पनि गर्न सकिन्न । त्यस क्लबबाट उनी सेरेजा ओसाका गए ।
त्यहाँबाट पनि रेडबुल साल्सबर्ग गए । खासमा उनी औसत जापानी फुटबल खेलाडी जस्तो होइनन् । सन् २००२ को विश्वकप जापानमा भएको थियो । त्यतिबेला तहल्का मच्चाउने खेलाडी थिए, ब्राजिलका रोनाल्डो । मिनामिनो यिनै रोनाल्डोका प्रशंसक हुन् । उनको ‘फिनिसिङ’ र ‘ड्रिब्लिङ’ बाट कति धेरै प्रभावित भए भने त्यसकै नक्कल गर्न थाले । त्यसैले त भनिन्छ, यी २४ वर्षे जापानी खेलाडीको शैलीमा ब्राजिली छनक पाइन्छ ।
मिनामिनोको खेलजीवनमा निर्णायक प्रभाव पार्ने अर्को एकजना पनि छन् । ती हुन् उनका तीन वर्षले जेठा दाइ केन्ता । यी केन्ता र मिनामिनो जहिले पनि फुटबल खेलिरहेका हुन्थे । अनि प्रशिक्षकको भूमिकामा प्रायः हुन्थे, उनीहरूकै बुवा । व्यावसायिक खेलाडीका रूपमा भने मिनामिनोले आफ्ना दाइलाई पछाडि छाडे । उनलाई पूर्णतः व्यावसायिक खेलाडी बनाउने श्रेय भने ओसाका क्लबलाई नै दिनुपर्छ । मिनामिनाको घरछेउकै क्लब हो ओसाका ।
उनी त्यसको एकेडेमीबाट खेलाडी बने । संयोग कस्तो पनि रह्यो भने जुन वर्ष मिनामिनोको जन्म भएको थियो, त्यही वर्ष जे–लिगको सुरु भएको थियो । उनी १२ वर्षको उमेरमा एकेडेमी गए । विस्तारै हुर्कंदै गए । जब १५ वर्षका भए उनी यू–१८ टिमका सदस्य भइसकेका थिए । सन् २०११ को यू–१७ विश्वकपको क्वाटरफाइनल पुगेको जापानी टिमका सदस्य हुन् उनी । त्यही एकेडेमीका सिन्जी कागावा, ताकिसी इनुइ र हिरोसी कियोताकेले पछि कुनै कुनै अवसरमा युरोपमा खेले ।
त्यसलाई नै मिनामिनोले पनि पछ्याए । एकेडेमीमा खेलाडीलाई खुबै मिहिनेतका लागि बाध्य पारिन्थ्यो । खेलाडीको शारीरिक बलियोपनमा खुबै ध्यान दिइन्थ्यो । मंगलबारको दिन त हदै हुन्थ्यो, सबै प्रकारको अभ्यास सुरु हुनुअगाडि ४ किलोमिटर दौडमा सहभागी हुनुपर्थ्यो । यसैको कारण हुनुपर्छ, १७ वर्षको उमेरमै उनले लिगमा डेब्यु गरे ।
१८ वर्ष पुग्दा गोल पनि गरे । त्यो गोल भएको १३ दिनपछि उनले म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्न पाए । त्यसमा पनि उत्तिकै राम्रो खेले । त्यति बेलाका व्यवस्थापक डेविड मोयस पनि चुप लागेर बस्न सकेनन् । मिनामिनोको प्रशंसा नै गरे । सन् २०१३ मा उनी सर्वाधिक राम्रा नयाँ खेलाडी चुनिए । त्यसपछि त उनी साल्सबर्गतर्फ गइहाले । त्यहाँ राम्रै खेलिसक्दा पनि उनले सन् २०१८ को विश्वकपमा मौका पाएनन्, त्यतिबेलाका प्रशिक्षक आकिरा निसिनोले उनलाई विश्वास गरिहालेनन् । तर अहिलेका जापानी प्रशिक्षक हाजिमे मोरियासुका उनी प्रिय खेलाडी भएका छन् ।
त्यस विश्वकपपछि उनी जापानी टिमका प्रमुख खेलाडी भएका छन् । मोरियासुको नेतृत्वमा खेलेका सुरुआती तीनै खेलमा मिनामिनोले गोल गरे । भन्न सकिन्न, जापानी टिममा अहिले उनको स्थान पक्का जस्तै छ । कसैले उनको उपस्थितिलाई चुनौती दिन सक्दैन । अब पालो भने लिभरपुलमा हो ।
अर्को महिनाबाट उनले क्लबका लागि खेल्नेछन् । तय छ, त्यहाँ पनि उनको एकमात्र लक्ष्य हुनेछ, धेरै खेल्ने र एउटा जितपछि अर्को जित निकाल्ने ।

ओलिभर ट्रेन्टचार्ड
(ओलिभर जापानी फुटबल विशेषज्ञ हुन्) –बीबीसी

खेलकुद

बानेश्वर र पोखरा फाइनलमा

- कान्तिपुर संवाददाता

 

मकवानपुर (कास)– बानेश्वर र बगर भाइ भेट्रान्स क्लब पोखरा हेटौंडामा जारी राष्ट्रिय भेट्रान्स फुटबलको फाइनलमा पुगेका छन् ।
हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदानमा शुक्रबार सेमिफाइनलमा बानेश्वरले अमरसिंह क्लब पोखरा भेट्रान्सलाई १–० ले र पोखराकै बगर भाइले बौद्ध फुटबल क्लबलाई २–० ले पराजित गरे । पाँचौं संस्करणको उपाधि नजिक पुर्‍याउन बानेश्वरको तर्फबाट एकमात्र गोल १९ औं मिनेटमा राज श्रेष्ठले गरे । उनी म्यान अफ द म्याचसमेत घोषित भए । निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा टुंगिएपछि बगर भाइ टाइब्रेकरमा विजयी भयो । टाइब्रेकरमा नरेश थापा र दीपेश थापाले गोल गरे ।
बगर भाइका गोलरक्षक लक्ष्मण गुरुङ म्यान अफ द म्याच घोषित भए । फाइनल शनिबार हुनेछ । विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खेलकुद

निमालाई स्वर्ण

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– तेस्रो एन प्याब्सन खेलकुदअन्तर्गत ब्याडमिन्टनमा ग्यालेक्सी पब्लिकको वर्चस्व जमाएको छ । गर्ल्स सिंगल्समा निमा याङजी शेर्पा पहिलो, शेरा शेर्पा दोस्रो तथा शिवानी शाह र विधी क्षेत्री तेस्रो भए । डबल्समा निमा र शेराको जोडीले स्वर्ण तथा शिवानी र विधीको जोडीले रजत जिते । दिव्यज्ञानका रिबिका कुरेल र रोसेमा रिसाल तथा प्रोग्रेसिभका छोकेन शेर्पा र भूमिका सापकोटाको जोडी तेस्रो भए ।
ब्याडमिन्टनकै प्रिन्सिपल सिंगल्समा पिपुल्स एकेडेमीका रामबाबु सेढाईंले स्वर्ण, गोल्डेन गार्डेनका नीलममणि भट्टराईले रजत तथा एजिएमका श्याम योन्जन र सेन्ट जर्जका मनोज दाहालले कांस्य हात पारे । फुटसलमा माउन्ट ओलिभ पहिलो, भीमेश्वर एकेडेमी दोस्रो तथा ग्रिनफिल्ड तेस्रो भए । टेबलटेनिसमा आरुणी १९ अंकसाथ टिम च्याम्पियन बन्यो । ग्रिनफिल्ड दोस्रो र कान्तिपुर इङलिस एकेडेमी तेस्रो भए ।
सिनियर ब्वाइज बास्केटबलमा ग्रिनफिल्ड पहिलो, युनिभर्सल दोस्रो तथा कान्तिपुर तेस्रो भए । ग्रिनफिल्डका प्रशान्त थापा मोस्ट भ्यालुएबल प्लेयर चुनिए । टुँडिखेलमा भएको क्रिकेटमा कान्तिपुर पहिलो, ग्रिनफिल्ड दोस्रो तथा अंकुर तेस्रो भए । सबै खेलका विजेतालाई शुक्रबार पुरस्कृत गरियो ।

Page 16
खेलकुद

गुमनाम सागर

- विनोद पाण्डे

(काठमाडौं) - बुटवल ब्लास्टर्सले तीन खेलमा दोस्रो जित हात पारेपछि पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल पुग्ने आशा कायमै राखेको छ । बुटवलले पोखरा रंगशालाको क्रिकेट मैदानमा शुक्रबार गत वर्षको विजेता पोखरा पल्टनलाई ८ विकेटले माथ दिएको थियो ।
पोखराको यो चमकधमकले सागर पुनलाई केही आकर्षित गरेको छैन । उनलाई कसले कोसँग खेलिरहेको पनि थाहा छैन । पीपीएलमात्र होइन, फ्रेन्चाइज क्रिकेटका अन्य प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) र धनगढी प्रिमियर लिगमा पनि एक वर्षयता उनको ध्यान गएन ।
गत वर्षको डिसेम्बर १८ । ईपीएलको क्वालिफायर्समा काठमाडौं किंग्स ११ बाट ललितपुर प्याट्रियट्सविरुद्ध चम्किलो प्रदर्शनको आशामा थिए सागर । ब्याटिङमा २९ रन बनाइसकेका सागर आफ्नो पहिलो ओभर बलिङ गर्दै थिए । उनको तेस्रो बलमा ब्याट्सम्यानले गरेको प्रहार फाइन लेगमा गयो । ब्याकअप गएर बल समात्न खोजेका थिए । ज्यानलाई टर्न गरेर स्टम्प पछाडि उभिन खोज्दा दाहिने खुट्टाबाट ‘च्याट्ट’ आवाज आयो । उनको दिमागमा करेन्ट हाने जस्तै अनुभूति भयो । त्यसपछि केही थाहा भएन ।
सकी नसकी उनले अर्को बल फाले । त्यसपछि उनी उभिनै सकेनन् । ‘च्याट्ट’ आवाज आउँदा उनलाई एङ्कल दोब्रिएजस्तो मात्र लागेको थियो । मैदानबाहिर निस्किए । खेल सकिएपछि मेडिसिटी अस्पताल गए । स्क्यान गर्दा एसिलिस टेन्डोन र्‍यापचर (कुर्कुच्चा र गोलिगाँठोको छेउको भागको मासु) दुई सेन्टिमिटर च्यातिएको देखियो । शल्यक्रिया गरेपछि डाक्टर शिशिर लाखेले धेरै नै च्यातिएकाले एक वर्ष निको हुनैलाग्ने जनाए । रिह्याब कसरी हुन्छ, त्यसमा बाँकी निर्भर हुने चिकित्सकले बताएका थिए ।
यस घटनापछि तीन महिना सागरको सहारा वैशाखी बन्यो । चौथो महिनामा चोटग्रस्त दाहिने खुट्टा उभ्याउन देव्रे वैशाखीको सहारा छँदै थियो । त्यसयता उनले विस्तारै दुवै खुट्टा टेक्न लागेका हुन् । सुरुमा सातामा एकपल्ट अस्पताल जानुपर्थ्यो । त्यसैले एक महिना काठमाडौंमा आफन्तकोमा बसे । त्यसपछि गृहनगर भैरहवा लागे । घरमा बुवाआमा, भाइबैनीको साथ थियो । तर उनले त्यो समय कैदीजस्तै बिताउनुपरेको अनुभव भोगे ।
‘पागलजस्तै भएको थिएँ म । जे गर्दा पनि
अरुको सहयोग चाहिने । सबैले माया गरेर सहयोग गर्दा पनि लाचार भएजस्तो लाग्ने,’ सागर ती कष्टकर दिन सम्झिए, ‘मैदानमा पुनरागमन गर्न सक्छु कि सक्दिनँ भन्ने मात्र मनमा खेलिरहन्थ्यो । आफूसँग भएका र आफूले खेलेका भिडियो हेरेर, परिवारसँग बसेर समय बिताउने गर्थें । घरपरिवारले नै मलाई धेरै सम्झाउनुहुन्थ्यो ।’ यही समयमा उनले आईटीको ट्रेनिङ पनि लिए । यो मन भुलाउने उनको
बहानामात्र थियो ।
चार महिना भयो अहिले उनी जिमखाना जान थालेको । साँझको समय उनी चाबहिलको प्लाटिनम फिटनेस सेन्टरमा साढे दुई घण्टा बिताउँछन् । घाइते दाहिने खुट्टामा प्लास्टर लगाएकाले तौल कम भएको थियो । त्यसलाई दाहिने खुट्टाको तौल बराबर बनाउन डाक्टरको सल्लाहबमोजिम जिम गरिरहेका छन् । घरमा बस्दा उनी ५ केजी तौल बढेका थिए । जिमपछि उनले ६ केजी तौल घटाइसकेका छन् । मनमैंजुको एन्जल स्पोर्टस एकेडेमीमा दुई महिनायता बिहान नेट्समा ब्याटिङ अभ्यास पनि जारी राखेका छन् ।
बलिङ एकै स्थानमा उभिएर मात्र गर्छन् । अझै राम्रोसँग दायाँबायाँ फर्कन उनलाई अप्ठ्यारो हुन्छ । स्टेप लिएर बलिङ गर्न सक्दैनन् । एकै ठाउँमा उभिएरमात्र फिल्डिङ गरिरहेकाले उनी स्लिपबाहिर जान सकेका छैनन् । डाक्टरसँग परामर्श गरेपछि मात्र उनी दौडिन सुरु गर्ने सुरमा छन् ।
सागरले यसक्रममा घरेलु क्रिकेटको त कुनै मतलब नै राखेनन् । शुक्रबार पोखरामा बुटवल ब्लास्टर्सले खेलिरहेको बारे पनि उनलाई पत्तो थिएन । ‘जित होस् या हार, सधैं टिमसँगै हुन्थे । तर टिमसँग नहुँदा चित्त बुझाउनै सकिएन । स्कोर पनि हेर्न मनलागेन,’ उनले भने, ‘यसबीचमा मैले सबैभन्दा बढी नेपाली टोलीलाई मिस गरें । नेपालले जित हात पारेपछिको भिक्ट्री सङ पनि खुब मिस भयो ।’ नेपालले खेलेको खेलको अपडेट त लिन्थे, तर नेपाल हार्न लागेपछि त्यहाँबाट पनि मन हटाउँथे ।
सन् २०१३ को काठमाडौंमा भएको एसीसी
ट्वान्टी–२० मा अनिल मण्डलको स्थानमा उनी वैकल्पिक खेलाडीका रूपमा पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए । गत वर्ष मलेसियामा एसिया कप छनोटमा उनले पछिल्लोपल्ट राष्ट्रिय टोलीबाट खेलेका थिए । त्यही ओमानविरूद्ध बनाएको ८३ रन उनको उच्च स्कोर हो । उनी अलराउन्डर हुन् । ओपनिङमा ब्याटिङ गर्थे र अफ स्पिन बलिङ । आफूले पाएको मौकामा प्रभाव देखाउन नसकेको आरोप उनीमाथि छ । धेरैले बलिङ अलराउन्डरमा नराख्दा धेरै अपेक्षा राखिएकाले पनि सागरको प्रदर्शन सोचेजस्तो जम्न नसकेको गुनासो गर्छन् ।
सागरको बल र ब्याट नजमे पनि उनलाई लिएर सामाजिक सञ्जाल जम्ने गरेको थियो । त्यसको प्रमुख कारण उनले राष्ट्रिय टोलीबाट धेरै अवसर पाएर पनि प्रदर्शन देखाउन नसकेको आरोप नै प्रमुख हो । ह्यासट्याग सागर पुन फ्याक्ट्समा उनलाई लिएर अनेक किस्सा बनाइएको छ ।
आफूले त्यतातिर कहिल्यै ध्यान नदिएको र आफूप्रति गरिएको प्रतिक्रियालाई लिएर गम्भीर पनि नभएको उनी बताउँछन् । ‘देशका लागि प्रतिनिधित्व गरिसकेपछि राम्रो गर्‍यो भने वाहावाही र नराम्रो गर्‍यो भने गाली पाइन्छ भन्ने थाहै छ । मलाई के गर्नुपर्छ भन्ने थाहा छ, मैदानमा उत्रिएपछि जस्तोसुकै खेल होस् राम्रै गर्न खेल्ने हो तर प्रदर्शन सधैं एकरुप हुँदैन,’ सागर भन्छन्, ‘कति खेलाडीले सामाजिक सञ्जालमा आएको विषय गम्भीर रूपमा लिएर आफ्नो खेल बिगारेको पनि देखेको छु ।’
१० मा ४ जनाले प्रशंसकको रूपमा मन नपराए पनि ६ जनाले मन पराएको हिसाबमा लिने गरेको सागर बताउँछन् । उनी घरेलु प्रतियोगिता नै भए पनि सामाजिक सञ्जाल बन्द गरेर बस्छन् । अरु बेला पनि खासै फुर्सदिला देखिँदैनन् यस क्षेत्रमा । उनले भने, ‘हाम्रा केही साथीले नकारात्मक टिप्पणी सहनै नसकेको पनि देखेको छु । खेलमा केन्द्रित हुन पाउने भएकाले म चाहिँ सामाजिक सञ्जालभन्दा टिमका साथीहरूसँग बस्छु ।’
शल्यक्रिया गरेको र त्यसपछिको एक सातासम्म अस्पताल बसेको खर्च किंग्स काठमाडौं ११ ले बेहोरिदियो । उनले थप उपचारका लागि तीन लाख खर्च गरिसकेका छन् । ‘क्रिकेटले अलि–अलि दिएको थियो, त्यही खर्च भएको हो,’ उनी आफैंलाई चित्त बुझाउने उत्तर दिन्छन् । तत्कालीन कप्तान पारस खड्काले उनलाई चोट लागेपछि अवस्थाबारे फोन गरेर सोधेका थिए । त्यसबाहेक उनी गुमनाम जस्तै छन् यो एक वर्ष । अन्य कोही खेलाडीसँग खासै भेटेका पनि छैनन् । राजेश पुलामीसँग भने उनको भेट भइरहन्छ । उनी आफ्नो निजी जीवनमै रमाउँछन् । बाहिर देखिन पनि खासै मन पराउँदैनन् ।
सागर त्रिभुवन आर्मी क्लबमा आवद्ध छन् । कहिले मैदानमा फर्किने उनले नै ठ्याक्क भन्न सकिरहेका छैनन् । अझै ३ महिना लाग्नसक्ने अड्कल उनको छ । ईपीएल मार्चमा छ । तर उनी ५० ओभरको घरेलु क्रिकेटबाट राम्रै हिसाबमा पुनरागमन गर्न चाहन्छन् । घरेलु क्रिकेटमा ५० ओभरको अर्को क्रिकेट प्रतियोगिता कहिले हुने भन्ने नेपाली क्रिकेटसँग त्यस्तो कुनै क्यालेन्डर नै छैन ।

खेलकुद

सन्दीपको स्टार्स विजयी

- नारायण खड्का
बिग–बासमा सन्दीप लामिछानेको खेल हेर्न पुगेका नेपाली समर्थक ।
तस्बिर ः नारायण/कान्तिपुर

(अस्ट्रेलिया) - सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग–बास क्रिकेटमा विजयी सुरुआत गरेको छ । उनको टोलीले ब्रिसबेन हिटलाई २२ रनले पराजित गर्‍यो । अस्ट्रेलियामा तीन दिनअघि सुरु घरेलु क्रिकेट प्रतियोगितामा स्टार्सको यो पहिलो खेल थियो ।
महत्त्वपूर्ण विकेट लिए पनि सन्दीपले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चन पुगे । गत वर्ष स्टार्सलाई बिग–बासमा उपविजेता बनाउन प्रमुख भूमिका खेलेका सन्दीप केही दिनअघि मात्र अस्ट्रेलिया आइपुगेका थिए । टिमको महत्त्वपूर्ण सदस्यका रूपमा खेल प्रदर्शन गरेका उनले शुक्रबार पनि राम्रो सुरुआत गरे ।
ब्रिसबनस्थित मेट्रिकोन स्टेडियममा घरेलु टिम ब्रिसबेन हिटसँग स्टार्सले टस हारेर ब्याटिङ निम्तो पायो । निर्धारित २० ओभरमा ७ विकेट गुमाई स्टार्सले १ सय ६७ रन बनायो । कप्तान ग्लेन म्याक्सवेलले ८३ रन बनाए । घरेलु टोलीले ८ विकेट गुमाई १ सय ४५ रनमात्र बनाउन सक्यो । स्टार्सका एडम जाम्पाले ३ तथा डानियल वारेल र पाकिस्तानी बलर ह्यारिस रौफले २–२ विकेट लिए ।
वारेलसँगै ओपनिङ बलिङमा आएका सन्दीपको पहिलो ओभर महँगो साबित भए पनि उनले आफ्नो खेल नियन्त्रणमा लिन सफल भए । पहिलो ओभरमा १५ रन दिएका सन्दीपले बेन कटिङलाई आउट गरे । अस्ट्रेलियाली घरेलु क्रिकेट लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीपको प्रदर्शनलाई अस्ट्रेलियाका समिक्षक तथा खेलाडीले उच्च प्रशंसा गर्ने गरेका छन् । स्टार्सले अर्को खेल आइतबार होबार्ट हुरिकेन्ससँग खेल्नेछ ।
सन्दीपलाई समर्थन गर्न मैदानमा राष्ट्रिय झण्डासहित दर्जनौं नेपाली पुगेका थिए । उनीहरूले सन्दीपको पक्षमा हुटिङ गर्दै प्रोत्साहन दिएका थिए । समर्थन जनाउन गोल्डकोस्टबाट पुगेका सुमन थापाले नेपाली भएर मात्र नभई राम्रो खेलाडी भएकाले सन्दीपको समर्थन गर्न आएको बताए । ‘अस्ट्रेलियाजस्तो देशमा नेपालको कुनै युवा खेलाडी आएर बिग–बास लिग खेलिरहेकाले उसलाई समर्थन र हौसला दिन हामी समूहमा आएका हौं,’ एक दर्जन साथीसहित खेल हेरिरहेका उनले भने ।

खेलकुद

जापानी खेलाडीको प्रभाव

- कान्तिपुर संवाददाता
सहिद स्मारक लिगमा शुक्रबार भिड्दै च्यासलका जापानी हायतो वाकिनो (नीलो) र मछिन्द्रका पिटर सेगुन । तस्बिर ः केशव थापा/कान्तिपुर

(काठमाडौं) - नाम चलेका खेलाडीहरूलाई बटुलेको मछिन्द्रले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई २–० ले पराजित गरेपछि प्रशिक्षक प्रवेश कटुवालले भनेका थिए, ‘विदेशी खेलाडी प्रक्रिया पूरा गरेर अर्को खेलमा आउँदैछन्, जसले टिम बलियो बनाउने छ ।’ उनले अफ्रिकी मूलका पिटर सेगुन, एडेलाजा सोमिडे र आन्द्रेस निआलाई शुक्रबार च्यासल युवाविरुद्ध पहिलो रोजाईमै उतारे । तर, उसले तीन जापानी खेलाडी भित्र्याएको च्यासललाई पराजित गर्न सकेन । जापानीहरूले प्रभाव देखाएको एन्फा कम्प्लेक्सको खेल १–१ मै टुंगियो ।
पहिलो खेलमा च्यासलले पनि २–० कै जित रचेको थियो । उसको प्रतिद्वन्द्वी थियो गत वर्षको उपविजेता संकटा । च्यासलको त्यो टिममा पनि विदेशी खेलाडी थिएन । एन्फाको नियमानुसार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चार विदेशी (१ दक्षिण एसियालीसहित) अनुबन्ध गर्न पाउँछ भने तीनजनालाई एकैपल्ट खेलाउन मिल्छ । च्यासलले पनि मछिन्द्रले जस्तै विदेशी खेलाडी खेलाउने प्रक्रिया पूरा गर्‍यो । उसले जापानी खेलाडीहरूको उपस्थितिलाई उपयोग गर्‍यो पनि ।
प्रशिक्षक बालगोपाल साहुखलले पूर्णबहादुर गुरुङ र चेतकुमार थारुलाई ‘बेन्च’ मा राख्दै ताइगा नाकामुरा र हायतो वाकिनोलाई पहिलो रोजाइमा मछिन्द्रविरुद्ध उतारे । दुवैले राम्रै प्रभाव देखाए । छरिता देखिएका हायतोले अग्रपंक्तिमा कप्तान सन्तोष साहुखललाई साथ दिए भने नाकामुराले सेन्टरब्याकमा अभिषेक लिम्बुसँग सहकार्य गरे । अर्का जापानी जुनिची ओजावाले ६२ औं मिनेटमा विंगर अमिर श्रेष्ठको स्थान लिए ।
मछिन्द्रले पनि अघिल्लो टिममा तीन खेलाडी परिवर्तन गर्दै तीन अफ्रिकीलाई सुरुबाटै खेलायो । उनीहरूको तुलनामा ‘आर्टिफिसियल टर्फ’ मा जापानी खेलाडी प्रभावशाली देखिए । गत वर्ष मनाङ मर्स्याङदीलाई लिग च्याम्पियन बनाउन प्लेमेकरको भूमिका खेलेका हेमन गुरुङ लिगकै उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए । यसपालि मछिन्द्रमा आबद्ध उनी पहिलो खेलपछि अस्ट्रेलिया पुगिसके । रेजिन सुब्बाले दोस्रो हाफमा दीपक राईको स्थान लिए भने ब्रिगेड ब्वाइजविरुद्ध पूरा समय खेलेका विजय धिमाल च्यासलविरुद्ध बेन्चमै रोकिए ।
मंगोलियाभन्दा स्तरीय
चार वर्षयता प्रायजसो जापानमै रहेका फरवार्ड सन्तोष साहुखल र एनपीओ र्‍याले वर्ल्डकी आया मियोसीको पहलमा च्यासलले तीन जापानी खेलाडी भित्र्याएको हो । सन् २०१० मा जापानको यू–१५ टिमको कप्तानी गरेको बताइएका नाकामुरासहित तीनै खेलाडीले मंगोलियालगायत थुप्रै देशको लिग खेलेका छन् । मिडफिल्डमा जुनसुकै भूमिका पनि खेल्न सक्छन्, नाकामुरा । २८ वर्षे उनले २०१४ देखि १७ सम्म सेन्सु विश्वविद्यालयबाट खेलेका थिए । लाओ प्रिमियर लिग २०१८ मा तेस्रो भएको लुआङ प्रावाङ युनाइटेडसँग लाओसमा रहेका उनले पछिल्लो सिजन २०१९ मा मंगोलियाको एथलेटिक्स २२० बाट त्यहाँको प्रिमियर लिगमा १० गोल र १० एसिस्ट गरेका थिए । नेपालको लिगमा पहिलो खेलपछि उनले भने, ‘यहाँ स्तर मंगोलियाको भन्दा राम्रो रहेछ ।’
विशेषतः लेफ्ट विंग्समा खेल्छन् वाकिनो । २६ वर्षे उनीसँग अस्ट्रेलियाको अर्धव्यावसायिक लिग (न्यु साउथ वेल्स) लेइकाहार्ड टाइगर्सबाट खेलेको अनुभव छ । चार सिजन न्युजिल्यान्डको च्याम्पियनसिप खेलेका उनले लिथुआनिया, जर्मनी, फिनल्यान्ड, कोसोभोको लिग पनि खेले । यसपाली इर्चिमबाट मंगोलियन प्रिमियर लिगको उपविजेता भएपछि यहाँ आइपुगेका उनले मछिन्द्रविरुद्ध सन्तोषसँगै च्यासलको अग्रपंक्ति सम्हाले ।
अट्याकिङ मिडफल्डर हुन्, ओजावा । उनी लाओ प्रिमियर लिग २०१८ मा नाकामुरासँगै लुआङ प्रवाङमा थिए । त्यसअघि मंगोलियन प्रिमियर लिग २०१७) र थाइल्यान्डको ‘बी’ डिभिजन लिग दुई सिजन खेलेका उनले जापानको विश्वविद्यालय लिग खेल्दै २०१० मा करिअर सुरु गरेका थिए । २६ वर्षीय उनलाई लाओ लिगमा घुँडाको चोटले सताएको थियो र त्यसयता पहिलोपल्ट मैदानमा शुक्रबारै फर्किएको उनले बताए ।
मनाङ मर्स्याङदी र थ्रीस्टारका स्टार खेलाडीहरू भित्र्याएर पनि च्यासललाई पराजित गर्न
नसकेपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘जापानी खेलाडी आएर च्यासलको टिम राम्रो भएको छ । टिमलाई संगठित बनाइदियो । त्यसले हामीलाई गाह्रो भयो ।’
जापानी खेलाडीको स्तरबारे च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने, ‘उनीहरूको खेल अझै बढ्छ । टिमसँगको अझै मुभमेन्ट बुझेको छैन, खुलेर खेल्न पनि पाएका छैनन् ।’ वोकिनोले दुई साता र अरु दुईले एक सातायता टिमसँग अभ्यास गरेको च्यासल युवाका व्यवस्थापक शंकर व्यञ्जनकारले बताए । ‘मासिक ५ सय अमेरिकी डलरमा उनीहरूलाई तीन महिनाका लागि ल्याइएको हो । पूरा लिग खेलेर फर्किनेछन्,’ उनले भने ।
सन्तोषको ९९ औं गोल
मनाङबाट लिग जितका सोमिडे, थ्रीस्टारमा चम्किएका सेगुन र मिडफिल्डर आन्द्रेसको आगमनसँगै यो लिगकै बलियो टिम बन्ने अभियानमा थियो मछिन्द्र । तर, उसलाई पहिलो प्रयासमै झट्का लाग्यो । आन्द्रेसकै ‘मिस पास’ मा पाएको बल अमिर श्रेष्ठले अगाडि फाले । त्यही बल नियन्त्रण गर्दै सन्तोष साहुखलले पेनाल्टी क्षेत्रको ठीकबाहिरबाट २७ औं मिनेटमा दर्शनीय गोलमा परणत गर्दै च्यासललाई अग्रता दिलाए । सन्तोषले बाँया खुट्टाले प्रहार गरेको ‘हाफ भली’ निकै आकर्षक थियो, जसलाई गत वर्ष मनाङसँगै च्याम्पियन हुँदै उत्कृष्ट गोलकिपर बनेका विशाल श्रेष्ठले रोक्न सकेनन् ।
मछिन्द्रका प्रशिक्षक कटुवालले त्यो गोलमा आन्द्रेसको गल्तीलाई ‘मूर्खता’ को संज्ञा दिए । अघिल्लो खेलमा संकटाविरुद्ध दुई गोल गरेका सन्तोषले उक्त सफलतासँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा
आफ्नो गोलसंख्या ९९ पुर्‍याएका छन् । ‘हाम्रो लिगमा १ सय गोल पुर्‍याउने पहिलो खेलाडी बन्न चाहन्छु,’ २०६० सालमा थ्रीस्टारबाट करिअर सुरु गरेका सन्तोषले भने । अब च्यासलले पुस ९ मा दशरथ रंगशालामा एनरआटीविरुद्ध खेल्नेछ र त्यसैमा उनले गोलसंख्याको शतक पुर्‍याउने आशा गरेका छन् ।
च्याम्पियन बन्ने लक्ष्य बनएको दुई टिमको प्रतिस्पर्धामा दुवैले आ–आफ्नै शैलीमा खेल्ने र आकर्षक फुटबल देखाउने प्रयास गरे । पहिलो गोलको अवसर भने मछिन्द्रले पाएको थियो । त्यो तेस्रो मिनेटमा दीपक राईको प्रयासलाई डिफेन्डर नरेन्द्र चौधरीले क्लियर गरिदिए । विशाल राईले ३० औं मिनेटमा प्रहार
गरेको बलमा च्यासलका गोलकिपर एलन नेउपानेले राम्रो बचाउ गरे । रन्जित धिमालको प्रहार पनि पोस्टमाथि गयो ।
दोस्रो हाफमा मछिन्द्रले बलमाथि नियन्त्रण राख्यो । उसले ‘अट्याकिङ थर्ड’मा भने च्यसाललाई दबाब दिन सकेन । च्यासल ३ अंकको नजिक पुगेको थियो । तर, विशाल राईको चलाखीपूर्ण पासमा डिफेन्डर देवेन्द्र तामाङले फस्टबारमै बललाई पोस्टको दिशा दिएर मछिन्द्रलाई ८८ औं मिनेटमा बराबरीमा पुर्‍याए । इन्ज्युरी समयको अन्तिम क्षणमा च्यासलले पेनाल्टी बक्सबाहिर फ्रि–किक पायो । नाकामुराले करिब २५ यार्डबाट प्रहार गरेको बलमा एलनले आकर्षक पन्च नगरेको भए च्यासलले पूर्ण अंक जोड्न सक्थ्यो ।
ॅहार्दाहार्दै बराबरी’
‘च्यासल उपाधिको दाबेदार टिम हो । यस्तो टिमविरुद्ध खेल्दा थोरैमात्रै अवसर पाउँछ । विशाल (राई), दीपक (राई) सहज अवसरमा पनि
चुके,’ मछिन्द्रका प्रशिक्षक कटुवालले भने, ‘हामी ३ अंक जित्न आएका थियौं । पहिलो हाफको गोलले गाह्रो भयो । २ अंक गुमायौं तर हार्दाहार्दै बराबरी भयो र यसमा खुसी छौं ।’
च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने, ‘खेल अपेक्षा गरेजस्तै भयो । रक्षात्मक खेल्दा दोस्रो हाफमा अलि थाकेजस्तो भयो । खेलाडी घाइते भएपछि समयमै परिवर्तन नगर्दा गोल खायौं । आजको ३ अंक अन्तिममा खुस्कियो । फुटबल भनेको यस्तै हो । हाम्रो लक्ष्य च्याम्पियन बन्ने नै हो ।’ मछिन्द्रले राम्रो खेलेको पनि उनले बताए ।
ब्रिगेड ब्वाइज २–० फ्रेन्ड्स
दशरथ रंगशालामा भएको खेलमा बिग्रेड ब्वाइजले फ्रेन्ड्सलाई २–० ले हरायो । ब्रिगेडले दुवै गोल अन्त्यतिर गर्‍यो । जय गुरुङले ८८ र रोशन रानामगरले ९१ औं मिनेटमा गोल गर्दै ललितपुर डर्बीमा ब्रिगेड ब्वाइजलाई ३ अंक दिलाए ।

 


आजका खेल
सरस्वतीविरुद्ध जावलाखेल
एन्फा कम्प्लेक्स
१२ः०० बजे
संकटाविरुद्ध एनआरटी
दशरथ रंगशाला
१५ः०० बजे

खेलकुद

शुभांगी र इशा फाइनलमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– शुभांगीलक्ष्मी शाह र इशाश्री शाह शुक्रबार १७ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिसको छात्रा यू–१४ तर्फ फाइनलमा पुगेका छन् । शुभांगीले अजा रेग्मीलाई ६–३, ६–१ ले हराइन् । उनले उपाधिका लागि इशासँग प्रतिस्पर्धा गर्नेछिन् । इशाले आइसा डोल्कर गुरुङलाई ६–०, ४–६, ६–३ ले हराइन् ।
छात्रा यू–१२ तर्फ इभा अधिकारी र सुनिरा थापा फाइनल पुगे । इभाले प्रशंसा मोक्तानलाई ६–२, ७–५ ले र सुनिराले जेनी खड्कालाई ३–६, ६–२, ६–३ ले हराए । यू–१० तर्फ प्राज्ना मानन्धर र समृद्धि महर्जन फाइनलमा पुगेका छन् । यू–९ तर्फ शिभाली गुरुङले प्राज्ना मानन्धरलाई ४–२, ०–४, ४–१ ले र कर्मिष्ठा नुगाले जु सिंगोईलाई ४–०, ४–० को सेटमा पराजित गर्दै फाइनल पक्का गरे ।
छात्र यू–१४ तर्फ आर्यन गिरी फाइनल पुगे । उनले सौगात बिकलाई ६–४, ६–१ ले पराजित गरे । अकी जुवेन रावत सेमिफाइनलमा प्रनभ मानन्धरलाई ६–२, ६–२ को सोझो सेटमा हराए । यू–१० तर्फ बोरिस अधिकारी र निशाद जोशीबीच उपाधलाई प्रतिस्पर्धा हुनेछ । बोरिसले श्रीजन भट्टराईलाई ६–३, ६–४ र निशादले दर्शिल श्रेष्ठलाई ६–३, ६–४ ले हराए ।
छात्र यू–१२ तर्फ सक्षमविक्रम शाह, राजवीर प्रधान, स्लोक कजेर खड्का र आयुष्मान घले तथा यू–९ मा प्रनव घिमिरे, अमर्त्या शर्मा, स्पर्श तिमल्सिना र शंखहाङ राई सेमिफाइनलमा पुगेका छन् ।

Page 17
कोसेली

पुरस्कारको कर्मकाण्ड

- राजकुमार बानिया

सयवर्षे परमायुमा संस्कृतिविद् सत्यमोहन जोशीले ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ को दोसल्ला ओढे, मंसिर २३ मा । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रत्येक चार वर्षमा दिने सर्वाधिक धनराशिको सरकारी पुरस्कार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट पाउँदा उनी खुसी नै भए । चार लाखको थैली समातेका जोशी मंसिर २८ मा प्रज्ञा भवन, कमलादीमा १५ हजार १ रुपैयाँ राशिको तुलसीमान श्रेष्ठ लोकसंस्कृति तथा लोकसाहित्य सम्मान लिँदा पनि बेखुसी देखिएनन् ।
केही महिनायताका सञ्चारमाध्यम नियाल्ने हो भने नेपाली साहित्यिक पुरस्कारहरू ‘सेन्चुरी ब्वाय’ मय छन् । हरेक साताजसो पुरस्कार पाउनेमा ‘शताब्दी वाङ्मय पुरुष’ जोशी र ‘राष्ट्रकवि’ माधवप्रसाद घिमिरे नै देखिन्छन् । पुरस्कारको ओइरो हेर्दा थाहा हुन्छ, पुरस्कारदाता उमेर र स्वास्थ्यको निकै ख्याल राख्छन् । जोशी र घिमिरेका हकमा शतायु नै टाकुरा योग्यता भैदियो ।
देशकै ज्येष्ठ नागरिक पुरस्कृत हुनुमा अन्यथा सोच्ने फुर्सद कसलाई ? गैरसरकारी पुरस्कारलाई निजी तजबिजी मान्न सकिए पनि सरकारी पुरस्कारमा सय वर्षको मापदण्ड राख्नु के उचित हो ? जोशीलाई पृथ्वी प्रज्ञा–पुरस्कार पाउन सय वर्षै किन कुर्नुपर्‍यो ? प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य जोशीलाई नै पृथ्वी प्रज्ञा–पुरस्कार किन ? चार लाखको पुरस्कार पाउनेले १५ हजार लिने कि नलिने ?
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं पुरस्कार सिफारिस समितिका संयोजक जगमान गुरुङका शब्दमा, जोशीलाई सय वर्ष पुग्यो भनेर पृथ्वी प्रज्ञा–पुरस्कार दिइएको होइन, बरु पृथ्वीनारायण शाहमाथि आदिवासी–जनजातिले जाति, भाषा, संस्कृति मास्ने खुनी हमला गरेको आरोप लगाइरहेको सन्दर्भमा त्यसलाई असत्य सावित गर्ने अस्त्र हो । ‘जोशी ऋषितुल्य छन्, उनलाई उहिल्यै दिनुपर्ने हो,’ फलित ज्योतिषी पृष्ठभूमिका उपकुलपति चार वर्षपछिको पनि भविष्यवाणी गर्छन्, ‘अझै दिनुपर्ने अर्का समन्वयकारी पात्र छन्, वैरागी काइँला । जीवनकालमै भ्याइएन भने मरणोपरान्त पनि दिन सकिने मिल्छ ।’
२०६२/०६३ को राजनीतिक परिवर्तनपछि नेपाल प्रज्ञा–प्रतिष्ठानका त्रिभुवन प्रज्ञा–पुरस्कार, महेन्द्र प्रज्ञा–पुरस्कार, इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, वीरेन्द्र प्रज्ञालंकार आदि खारेजीमा परे । राजाहरूका नामको पुरस्कार राख्नै नहुने बहस चले पनि नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहका नामको पुरस्कार भने हटाउन नहुने प्राज्ञिक मत सदर भयो ।
२०३१ मा स्थापित पृथ्वी प्रज्ञा–पुरस्कार २०६० सम्म बालकृष्ण सम, सूर्यविक्रम ज्ञवाली, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, लैनसिंह बाङ्देल, गोविन्दबहादुर मल्ल गोठाले अनि २०६७ पछि मोदनाथ प्रश्रित र तारानाथ शर्माले पाएका छन् । जोशी स्वयंले २०५७ मै त्रिभुवन प्रज्ञा–पुरस्कार पाइसकेका छन् ।
प्रज्ञा–पुरस्कार मापदण्ड तथा कार्यविधि २०६९ मा यो पुरस्कार पाउन नेपालको वाङ्मय क्षेत्रमा सुदीर्घ साधना गर्ने साधकमध्ये वरिष्ठ र सुप्रसिद्ध हुनुपर्ने उल्लेख छ । तर, २०७० मा ध्रुवचन्द्र गौतम र मोदनाथ प्रश्रित पृथ्वी प्रज्ञा–पुरस्कारका लागि सिफारिस भए । तर, गौतम आजीवन सदस्य भएकाले प्रश्रितको भाग्योदय भयो । दुई वर्षपछि प्रश्रित स्वयं आजीवन सदस्यमा सामेल भइहाले । ‘पहिले पृथ्वीनारायण शाहको अस्तित्वै नमान्ने रत्नाकरजस्ता प्रश्रित पृथ्वीको सालिकमा एक्लै सिंहदरबार गएर पुष्पगुच्छा चढाउन पुग्ने वाल्मीकि बने,’ उपकुलपतिको तर्क छ, ‘तारानाथ शर्मालाई भने पृथ्वी जयन्ती मनाउन नसक्ने अशक्त अवस्थामा पुरस्कार दिनुपर्‍यो ।’
जोशी २०५२ मा नेपाल प्रज्ञा–प्रतिष्ठानको २७ औँ नम्बरमा आजीवन सदस्य भएका हुन् । आजीवन सदस्यले बहालवाला प्राज्ञले पाउने मासिक पारिश्रमिक सुविधाको एकतिहाइ भत्ता नियमित बुझ्छन् । उनीहरूलाई रोजिन्दै कार्यालय जानु पर्दैन । ४७ आजीवन सदस्यमध्ये २५ दिवंगत भइसकेका छन् । ‘हामीकहाँ एकथरीले ७७ वर्ष नाघेपछि र अर्का थरीले ८४ वर्ष नाघेपछि ठूलो आयु मानी त्यसलाई धार्मिक रूप दिने चलन छ,’ इतिहासकार महेशराज पन्त असहमति पोख्छन्, ‘चलनै मान्ने हो भने ज्वाइँ, भान्जाभान्जी आदि कुटुम्बलाई पो टीकाटाला गरेर दक्षिणा दिने हो, आफ्नै भाइभैयादलाई सरकारी ढिकुटी किन पोस्ने ?’
उपकुलपति गुरुङको शब्दमा, पुरस्कार सम्मान मात्र नभएर आर्थिक सहयोग पनि हो । ‘पैसा कसैलाई धेरै हुन्न, अलिकतिको पनि खरखाँचो भैरहन्छ ।
जोशीले आजीवन भत्ता लिन्छन्, मोदनाथले पनि लिन्छन्,’ उनी जोशीको अवस्था चित्रण गर्छन्, ‘बाहिर जतिसुकै ठूला मान्छे भने पनि उसका आफ्नै कथाव्यथा हुन्छन् । जोशीको घरको अवस्था हेर्नुस्, छोराछोरी घरमा छैनन्, बूढीमाउ बिरामी । पाहुना जाँदा चिया पकाएर दिने मान्छे पनि छैनन् ।’
प्रज्ञा–प्रतिष्ठानले सर्वश्रेष्ठ पुरस्कार दाबी गरे पनि शताब्दीपुरुषले पाउँदासमेत खासै ठूलो खबर बन्न सकेन । पृथ्वी प्रज्ञाजस्तै अधिकांश सरकारी पुरस्कार चर्चामै छैनन्, जनआकर्षण पनि छैन । संस्कृति मन्त्रालयका राष्ट्रिय प्रतिभा पुरस्कार अनि नेपाल प्रज्ञा–प्रतिष्ठान आदिका विभिन्न पुरस्कार राजनीतिक कार्यकर्ता र नातागोतालाई बाँडेर करोडौं धनराशि स्वाहा पारिएको छ । ‘लोक संस्कृतिका माध्यमबाट पञ्चायतको न्यारेटिभ्स निर्माणमा निर्वाह गरेको आधारभूत भूमिकाका निम्ति जोशीलाई प्रज्ञा–प्रतिष्ठानले गुन तिरेको हो,’ विश्लेषक आहुति भन्छन्, ‘जोशीलाई पृथ्वी प्रज्ञा–पुरस्कार दिनु भनेको माधव घिमिरेलाई मानार्थ जर्नेल दर्ज्यानी दिएजस्तै हो ।’
आफ्नो अध्ययन र अनुभवका आधारमा आहुति पुरस्कारको राजनीति नै ठान्छन् यसलाई । ‘नेपाल सरकार र अन्य संस्थाले दिने पुरस्कारको चयन समितिमा बसेका आधारमा म के भन्न सक्छु भने कृति वा व्यक्तिको छनोट वैचारिक र राजनीतिक प्रतिबद्धताले नै निर्धारण हुन्छ,’ उनी भन्छन्, ‘सत्ताधारी साहित्यिक पुरस्कारको विकल्प खोज्न प्रगतिवादी धारामा स्थापित पुरस्कारबारे पनि त्यहीखाले गुनासा पटकपटक सुनिएकाले अबको छलफल पुरस्कारको छनोट होइन, बरु सिंगै पुरस्कारको राजनीतिबारे हुनु जरुरी छ ।’

उपरीमाथि थुपरी
तथ्य बोल्छ— एकै खालका मानिसले घरीघरी पुरस्कार पाइरहन्छन् । १२४६ पृष्ठको भीमकाय ग्रन्थ ‘नेपाली पुरस्कारको इतिहास’ का लेखक डिल्लीराम मिश्रका अनुसार, सबैभन्दा धेरै पुरस्कार बटुल्ने कवि माधवप्रसाद घिमिरे हुन् । उनले ती पुरस्कार थन्क्याउने संग्रहालय माग गरिसकेका छन् । ‘मलाई श्रद्धाका साथ डेढ सयभन्दा बढी पुरस्कार, सम्मान र तक्मा दिइएको छ,’ उनी भनिरहेका छन्, ‘अहिलेसम्म मैले त्यसको संरक्षण गरिरहेको छु । अब राज्यले त्यसको जिम्मा लिएर संग्रहालयका रूपमा राख्ने व्यवस्था गरोस् ।’
घिमिरेलाई पछ्याइरहेका सत्यमोहन जोशीले मदन पुरस्कार नै तीनचोटि पाएका छन्, २०१३, २०१७ र २०२८ मा । पुरस्कार पाउनेमा दोस्रो भए पनि नगदमा घिमिरेलाई जोशीले नै उछिनेका छन् । घिमिरेले भने मदन पुरस्कार पाउन बाँकी छ । उमेरमा घिमिरे जोशीभन्दा सात महिना जेठा छन् ।
जोशी र घिमिरेलाई पछ्याउने मदनमणि दीक्षित, मोदनाथ प्रश्रित, वासुदेव त्रिपाठी, चूडामणि बन्धु आदि छन् । युवा पुस्ताका सरुभक्त, दिनेश अधिकारी, युवराज नयाँघरे, श्रवण मुकारुङलगायत पनि पुरस्कार पाइरहनेमा गनिन्छन् । उमेरका आधारमा मात्रै पुरस्कार दिएर डम्पिङ साइट बनाउन खोजिएको एक युवा लेखक जिकिर गर्छन् ।
नोबेल पुरस्कार विजेता भौतिकशास्त्री इभार गिभरले भनेका छन्, ‘नोबेल पुरस्कारको पूर्वयोजना बनाएर अनुसन्धान गर्नु सम्भव छैन तर पुरस्कारको महत्त्वाकांक्षा राख्ने व्यक्ति अध्ययनशील, कल्पनाशील, परिश्रमी, दृढनिश्चयी, अलिकति भाग्यमानी भने हुनुपर्छ ।’ जोशी र घिमिरेचाहिँ ‘धेरै नै भाग्यमानी’ ठहरिए ।
पुरस्कारले पछ्याएका मात्र होइन कि पुरस्कारलाई पछ्याउने पनि त्यत्तिकै छन् । पुरस्कारलोलुप लेखकहरूको विशेषता के भने हजारदेखि लाखसम्म र्‍याल चुहाउँछन् । ‘घूस खानेले करोड मात्र खान्छु भन्दैन । सय, हजार, लाख जति पनि खान्छ,’ आहुति थप्छन्, ‘लेखकले यतिउति भन्दैनन् । यसमा लिने र दिने दुवैको स्वार्थ हुन्छ ।’
‘नेपाली पुरस्कारको इतिहास’ अनुसार, सरकारी र निजी क्षेत्रका झन्डै आठ सय पुरस्कारमध्ये आधाजसो त साहित्यमै छन् । तीमध्ये धेरैजसो फगत कर्मकाण्डीय छन् । पुरस्कार ‘लिन्या र दिन्या’ बाहेक कसैलाई थाहा छैन, कसले पायो ? किन पायो ? कसरी पायो ? कतिपय प्रचार या घोषणामै सीमित भए, कतिपय एकाध वर्षमै हराए । कतिपय अनियमित छन् ।
इतिहास केलाउँदा २०१० सालमा उद्योगपति शम्भुलाल श्रेष्ठले स्थापना गरेको तीन सय राशिको श्रेष्ठ सिरपाः पहिलो साहित्यिक पुरस्कार हो । त्यसको दुई वर्षपछि आएको मदन पुरस्कार सुरुमा चार हजार राशिको थियो । सय वर्षको कीर्तिमानी इतिहास भएको साझा प्रकाशन पुरस्कार दिनै नसक्ने हालतमा छ भने पुरस्कारको ‘डन’ बनेको साहित्यिक पत्रकार संघ आफैं पुरस्कार दिने, आफैं फिर्ता लिनेमा कहलिएको छ । प्रज्ञा–प्रतिष्ठानले मायादेवी प्रज्ञा–पुरस्कार स्थापना गरे पनि वितरण गरेको छैन, पासाङ ल्हामु प्रज्ञा–पुरस्कार बेपत्ता सूचीमा छ । व्यथित काव्य पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भवानी पत्रकारिता पुरस्कार, पण्डितराज सोमनाथ पुरस्कार, वीरसा हासने पुरस्कार, मुस्याचु पुरस्कार, गुरुवाचार्य कथा पुरस्कार, देवकोटा स्मृति पुरस्कार आदि नामी पुरस्कार बेपत्ता सूचीमै छन् ।
भूपालमानसिंह कार्कीका नाममा राखिएका पाँच लाखसहितका १८ पुरस्कार अहिले स्थगनमा छन् । कार्कीकै पुरस्कारका हर्ताकर्ता दम्पती नरेन्द्र–इन्दिरा प्रसाईंको नइ प्रकाशनको छातामुनिसमेत २८ वटा पुरस्कार छन् ।
स्थिति कतिसम्म भैसक्यो भने नइ दम्पतीले लाइन लगाएर पुरस्कार दिन थालेपछि प्रगतिशील लेखक संघले २०७३ पुसमा लेखक–स्रष्टाहरूलाई ‘तथाकथित’ पदक, पुरस्कार, सम्मानको मोहमा नफस्न र पदक, पुरस्कार सम्मान अस्वीकार गर्न सार्वजनिक आह्वान नै गर्‍यो । ‘यस्ता संस्थाको विगत, उसका क्रियाकलापबारे कुनै मूल्यांकन नगरी आफ्नो लेखकीय स्वाभिमान र गरिमालाई भुलेर कथित मूल्यहीन पुरस्कार, पदक र सम्मानको मोहमा प्रतिबद्ध स्रष्टाहरू नै फस्नु अझ दुःखद कुरा हो ।’
कतिपय पुरस्कारको अभिलेख, मण्डल, कार्यालय, अक्षयकोष र मापदण्ड केही देखिँदैन । फगत आफ्नो घरको भित्तामा सम्मानपत्र टाँस्ने र परिवारमा धाक लगाउने आत्मरति मात्र भएको छ । पुरस्कारबारे एउटा किस्सा छ । घटराज भट्टराईले नइको पुरस्कार पाउँदा तारानाथ शर्माले बधाई दिएछन् । उनले ‘आधा बधाई मात्र दिनुस्’ भनेछन् । त्यसको मतलब खाममा आधा मात्र रकम रहेछ ।
लेखक भएर पुरस्कार पाउने हो, पुरस्कार पाएर लेखक हुने पनि होइन । संयोग, काकताली र दुर्घटनाबाहेक पुरस्कारदाताले जहिल्यै आफ्नो छत्रछायामा अटाउने पात्र नै खोज्छन् । ‘कतिपय संस्थाले साहित्यलाई अतिरञ्जित महत्त्व दिएका छन् तर पुरस्कृत पुस्तक पढ्न थाल्यो भने पाँच पाना मेलो सर्दैन,’ लेखक खगेन्द्र संग्रौला भन्छन्, ‘आख्यानमा बीपी र कवितामा भूपीलाई कसैले चुनौती दिएको छैन । तर, बागी भएकाले उनीहरूले पुरस्कारै पाएनन् ।’
इतिहासकार पन्त अनुसन्धानकर्मीका निम्ति पुरस्कारभन्दा पनि मेहनताना, विद्वतवृत्ति या अप्रकाशित कृति छाप्ने व्यवस्था महत्त्वपूर्ण रहेको औँल्याउँछन् । पुरस्कारका लागि सत्पात्रकै खडेरी पर्दै गएको उनको विश्लेषण छ ।
रोचक के भने साझा प्रकाशनको सञ्चालक पदमा लड्दा कवि जनार्दन जोशीले बाबुका नाममा रामप्रसाद साहित्य पुरस्कार घोषणा गरे । तर, चुनाव हारेपछि त्यो पुरस्कारको नामै लिएनन् । ‘थुप्रै व्यक्ति र संस्थाले आफ्नो परिवार या राष्ट्रिय प्रतिभाका नाममा लहैलहै, रहर या प्रभावमा पुरस्कार राखेका छन्,’ मिश्र भन्छन्, ‘दुई सयभन्दा ज्यादा पुरस्कार न बन्द घोषणा भएका छन्, न कसैलाई दिइएका छन् ।’

पुरस्कारमा व्यापार
आहुतिको अध्ययनमा साहित्यिक पुरस्कारहरूका प्रमुख तीनवटा उद्देश्य देखिन्छन् । पहिलो, कुनै सम्पन्न व्यक्तिको प्रतिष्ठालाई दीर्घजीवी बनाउनु । दोस्रो, निश्चित विचार र राजनीतिलाई प्रोत्साहित गर्नु । तेस्रो, पुस्तकको व्यापार बढाउनु । अधिकांश पुरस्कारको हैसियत पारिवारिक मात्र छ । तिनीहरूको ध्येय जीवित र मृतक सदस्यको श्रीवृद्धि गराउनु हुन्छ ।
दोस्रोखाले पुरस्कार राजनीतिक आस्थामा आधारित छन् । पछिल्लो समय तिनको छाया सरकारी
पुरस्कारमा परिरहेको छ । पुस्तकको व्यापार
बढाउने हैसियतका पुरस्कार भने दुर्लभ छन् । ‘मदन पुरस्कारबाहेकका खुद्रा पुरस्कार लेखकले मात्र लाने हो, बजारमा १० थान किताब पनि बढी बिक्री छैन,’ प्रकाशक बुक हिलका भूपेन्द्र
खड्का भन्छन्, ‘मदन पुरस्कार कविताबाहेकले पाए ५ देखि १० हजारसम्म किताब बिक्री भएको छ ।’
पछिल्लो समय लेखकको ध्याउन्न कि पुरस्कारमा छ कि व्यापारमा । एकथरी युवा जमातलाई ताकेर ‘युधीर थापाका नाति’ मार्का पल्प फिक्सन लेख्ने छन् भने अर्काथरी चैतभित्र भ्याई–नभ्याई रातारात किताब छापेर मदन पुरस्कार भाक्ने । प्रकाशकका अनुसार, मदन पुरस्कारको उत्कृष्ट सूचीले समेत किताबको बिक्रीमा एक–डेढ हजारको फरक पर्ने गरेको छ । मदन पुरस्कारको मोह कस्तो छ भने लेखकहरू उत्कृष्ट सूचीमा नपरे प्रकाशकलाई धम्काउँछन्, ‘मेरो किताब किन दर्ता नगरेको ?’ कोड नम्बर लेखिएको मदन पुरस्कार गुठीको मेल फरवार्ड नगरे तिनको गन्थन सकिँदैन ।
त्यसो त न पुरस्कार पाउने व्यक्ति योग्य र नपाउने अयोग्य हुन्, न त पुरस्कार पाउने कृति असल, नपाउने कमसल । तर, बर्सेनि मदन पुरस्कार र पद्मश्री पुरस्कारमा लेखकहरूको उछिनपाछिन हेर्न लायककै हुन्छ । पद्मश्री पुरस्कारले उत्कृष्ट सूचीमा आउने अनावश्यक दबाब र सिफारिस दुई वर्ष पनि झेल्न सकेन । ‘कतिपय लेखकले पहिले कम्तीमा उत्कृष्ट सूचीमा पारिदेऊ भनेर घुर्क्याउने अनि पुरस्कार नपाएपछि नदिने भए किन उत्कृष्ट सूचीमा राखेको भनी धम्काउने गर्न थाले,’ खेमलाल–हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानका सदस्यसचिव रवीन्द्र समीर सुनाउँछन्, ‘त्यही नैतिक प्रश्नका कारण हामीले बजारमै गएर र प्रकाशकबाट सूची लिएर किताब किन्ने गरेका छौं ।’

२०६३ मा चितवनमा स्थापित यो पुरस्कारले पहिले मदन पुरस्कारकै शैलीमा पुस्तक दर्ता गर्थ्यो र उत्कृष्ट सूची निकाल्थ्यो । सुरुमा ५० हजार राशिको यो पुरस्कारको थैली अहिले ३ लाख पुगेको छ । ‘मदन पुरस्कारको इतिहाससँग पद्मश्रीको तुलना गर्नै मिल्दैन,’ समीर थप्छन्, ‘सामान्य रूपमा हेर्दा फर्म्याट एउटै देखिए पनि मदन पुरस्कार नेपाली भाषाका सबैखाले किताबलाई हो भने पद्मश्री नितान्त साहित्यकै किताबलाई ।’
लामो इतिहास बोकेको मदन पुरस्कार विवादमा पनि अग्लै छ । किताब दर्ता नगरिएकाले नपाउने अनि मूल्यांकन समिति सार्वजनिक नगरिनेजस्ता आलोचना पनि खेपेकै छ । १० उत्कृष्ट सूची निकाल्ने भने पनि पाँच–सातमै खुम्चिएको छ । ‘जुरीका सबै सदस्यले छानेका पुस्तक उत्कृष्ट सूचीमा पर्छन्, कसैकसैले मात्र छानेका पुस्तकमाथि अन्याय भएको हुन सक्छ । सबैलाई राख्दा सर्ट होइन, लङ–लिस्ट बन्न जान्छ,’ मदन पुरस्कार गुठीका सदस्यसचिव दीपक अर्याल भन्छन्, ‘काठमाडौँबाहिर निस्केका किताबबारे थाहा नहुने भएकाले दर्ता गर्नु बाध्यता हो । गुठीले आफ्नो मुखपत्र नेपालीमा बेलाबखत जुरीको खुलासा गर्दै आएको छ ।’
मदन पुरस्कार गुठीले १५ वर्षपछि भर्खरै राशिमा दुई लाख बढाएर चार लाख पुर्‍याएको छ । ‘हाम्रा लागि सबै लेखक समान हुन्, सबैप्रति उत्तिकै सम्मान छ । त्यसैले गुठीबाहिरका निर्णायक राखेर छनोट गर्छौं । त्यसमा केही कमीकमजोरी भएको हुन सक्छ,’ अर्याल स्विकार्छन्, ‘कहिलेकाहीँ पाठक र जुरीले मन पराएको फरक हुँदा अलिअलि विवाद हुन्छ नै ।’
त्यसो त कतिपय स्थितिमा लेखकहरूलाई पुरस्कारबाट घाटा पनि हुन्छ । आहुतिकै अनुभवमा उनले २०४९ मा ‘तपस्वीका गीतहरू’ का लागि १० हजार राशिको कृष्णहरि पुरस्कार पाउँदा साथीहरू रिसाएर बोलचालै बन्द गरे । एक वर्षसम्म एउटा कविता पनि लेख्न सकेनन् । मदन पुरस्कार विजेता लेखकहरूले कृतिभन्दा कामचलाउ किताब मात्र लेखिरहेको सुनिन्छ । पुरस्कार पाएपछि लेखकीय श्री साँच्चै समाप्त हुन्छ त ? ‘आफूले पुरस्कार पाएको कृति सबैभन्दा गतिलो हो भन्ने भ्रम हुन्छ कतिपय लेखकलाई । त्यसका कारण प्रतिभा कुण्ठित र भ्रमित अनि आतंकित हुन्छ,’ उनको तर्क छ, ‘त्यस्ता लेखक प्रचारको लपेटामा परेर मनोवैज्ञानिक द्वन्द्वमा फस्छन् ।’

अस्वीकार पनि
पुरस्कारको प्रसंगमा सबै लोभीपापी छन् भन्ने पनि होइन । युवा वर्ष मोती पुरस्कार दुईपटक अस्वीकार गरिएका घटना पनि छन् । २०४८ मा नरेन्द्रराज प्रसाईंसित दिइएको संयुक्त पुरस्कार किशोर पहाडीले लिएनन् । २०६३ मा मोमिला जोशीसित दिइएको संयुक्त पुरस्कार रामप्रसाद ज्ञवालीले पनि लिएनन् । पुरस्कार स्वीकार र बहिष्कार गर्नु व्यक्तिको अधिकार हो । त्यतिबेला दुवै जनाले पुरस्कार नलिनुमा राजनीतिक कारण देखाएका थिए ।
पुरस्कार गुठीहरूले राम्रा किताब निस्केनन् भनेर पुरस्कार रोकेका घटना पनि दुर्लभ छन् । मदन पुरस्कार गुठीले २०२०, २०२३–२४, २०२५, २०३४–३५ मा पुरस्कारको साटो विद्वतवृत्ति दिएको सन्दर्भ स्मरणीय छ ।
केही सातापहिले श्रीलंका पुगेका बेला आख्यानकार सञ्जीव उप्रेतीले प्रकाशकलाई सन्देश पठाए, ‘मैले पहिले पनि भनिसकेको छु वा भन्न बिर्सेको रहेछु भने पनि फेरि जानकारी गराउँछु— मेरो हंससहित (आगामी प्रकाशनसमेत) कुनै पनि किताब कुनै पनि पुरस्कारका लागि दर्ता नगरिदिनू । पाठकले दिएको पठन प्रतिक्रिया मेरा लागि कुनै पुरस्कार र सम्मानभन्दा माथि छ ।’
त्यस्तै गत वर्षको मदन पुरस्कारको मनोनयन सूचीमा ‘ज्ञ’ परेपछि लेखक कुमार नगरकोटीले प्रकाशकलाई एक डोज झपारे । उनले नयाँ कथासंग्रह ‘कल्पग्रन्थ’ को अग्रभागमै लेख्न आग्रह गरिरहेका छन्, ‘यो किताब कुनै पनि पुरस्कारका लागि समावेश हुनेछैन ।’ प्रकाशकले फेसबुकमा लेखे, ‘कोहीकोही लेखक मपु दर्ताको अधकट्टीसमेत मगाउँछन्, कुनै लेखकलाई आफूलाई पुरस्कार मोहभन्दा माथि राख्न चाहन्छन्, रोजाइ आ–आफ्नो हो ।’ अर्का लेखक बुद्धिसागरले त्यस्तै भनेको प्रकाशकको फेसबुक भित्तोमा उल्लेख छ । पुरस्कारमा पारदर्शिता नभएकोमा खिन्न यी लेखकहरूको दाबी छ, राम्रो लेखकलाई पुरस्कारको जरुरत पर्दैन ।
अर्चना थापाले पनि आफ्नो कथासंग्रह ‘कठपुतला’ पुरस्कारका लागि कतै दर्ता गरिनन् । तर, उनले दर्ता गर्नुनपर्ने पुरस्कार पनि पाइनन् । ‘पुरस्कारबारे सबै कुरा सर्वजाहेर नै छ । यहाँ त जसले जसलाई पनि पुरस्कार दिएको देख्छु,’ उनी भन्छिन्, ‘मैले लेख्नुलाई नै ध्येय बनाएको छु । लेख्ने धोको नै पुगेको छैन, पुरस्कार त दोस्रो प्रश्न हो ।’
पुरस्कारमा अन्तर्राष्ट्रिय मानस्तर कायम होस् भन्ने कामना व्यर्थ होइन । तर, ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाका सम्पादक नगेन्द्रराज शर्मा राजनीतिमा नभएको न्याय र निष्पक्षता साहित्यमा मात्र खोजिनु मूर्खता ठान्छन् । ‘राजनीतिमा पनि कुनै कुनै नेता इमानदार भेटिन्छन्,’ शर्मा भन्छन्, ‘साहित्यिक पुरस्कारमा पनि एकाध इमानदार होलान् ।’

Page 18
कोसेली

जीवन भन्नु ‘ब्ल्याक–ह्युमर’

आइरिस कवि स्यामुअल बेकेटले भनेका छन्, ‘हामी सबै पागल जन्मेका हौं । कोही भने सधैं पागलै रहन्छन् ।’ जीवनका मामलामा गरिएको यो एउटा तिखो ब्ल्याक–ह्युमर थियो, जसका बारे जोडेर एकदमै नजिकबाट ७७ वर्षीय ध्रुवचन्द्र अनेकानेक किस्सा सुनाइरहेका छन् ।
- देवेन्द्र भट्टराई

 

निद्राबाट बिउँझनासाथ म अलमलमा पर्छु । यो अलमल आजको होइन, जीवनको थालनीदेखि नै हो ।’
यसरी सुरु हुन्छ एउटा कथा । यस्तै–यस्तै कथा हाल्न थालेको पनि जुगौं भैसक्यो । यी कथाबाचकको भनाइ पत्याउने हो भने उनी यो पुस २ मा ७७ लागे र, उनी बितेको ७ दशकयता यस्तै कथा–कहानी सुनाएका सुनायै छन् ।
योपटकको भेटमा उनै बर्थ’डे ओल्ड–ब्वाई ध्रुवचन्द्र गौतमले बेलायती जीवशास्त्री डेसमन्ड मोरिसले रचेको कथामाथि थप बयान सुनाउन चाहे । महिला–पुरुष नग्नतामाथिको कलात्मक मीमांसा गरेर मोरिसले लेखेको ‘द नेकेड मेन’ र ‘द नेकेड उमन’ पुस्तकको सर्सती समीक्षा गरियो । यस्ता दुर्लभ र गोप्य पुस्तक संकलन गरेर राख्ने नगरकोटवासी एकल अध्येता अनिल प्रधानलाई धन्यवाद ज्ञापन गर्दै आफ्नाबारेमा केही कुरा सुनाउने चेष्टा सुरु भयो यसरी, ‘एउटा लेखकले सकेसम्म हरअनुभव, हरज्ञानबाट गुज्रन सक्नुपर्छ । मलाई इतिहासमा रुचि छ, पुराणमा रुचि छ, प्राचीन सभ्यतामा रुचि छ । म अस्तित्वमा कसरी आएँ, यो जान्न मन छ । एउटा लेखकीय नाताले म यसलाई इमानदार रुचि भन्छु । मेरो संवेदना र कल्पनाशीलतालाई बढावा दिन पनि यी र यस्ता इतर विषयहरू म खोजीखोजी पढ्छु, वा हेर्छु । उमेरले होला— बरु इतर विषय हेर्ने काममा कमी आएको छ, बढी पढ्छु नै ।’
यही कारण ‘अलिखित’ लेखक ध्रुवचन्द्र कल्पनाशीलता, प्रयोग र अरूभन्दा केही भिन्न लेखकीय शैलीका कारण निकै चिनिएका छन् । कथा, नाटक, गीत, उपन्यास, अपेरा, ब्याले, समालोचना आदि सबै कुरा लेख्नमा तत्पर हुने भएकाले उनी ‘आम–लेखक’ झैं लाग्न सक्छन् । तर, आख्यान जगत्का कुरा गर्दा ध्रुवचन्द्र ‘भिन्न’ छन्, विद्यालयदेखि विश्वविद्यालय तहसम्म सबैभन्दा बढी पढिने आख्यानकारमा उनी पर्छन् । संख्याका हिसाबमा उनको २७ औं उपन्यास ‘चकमन्नमा एकान्त’ यो महिना रत्न पुस्तक भण्डारबाट आउँदै छ, अरू २ उपन्यास र संस्मरण–किताब प्रकाशकको खोजीमा सिरानीमा बसेका छन् । यो धपेडीमाझ ध्रुवचन्द्रलाई सोधियो, ‘जीवनमा कति हिँडियो भन्ने लाग्छ ?’
जवाफ सधैंझैं वाकपटु थियो, ‘यो कुरा ‘माइल्ज टु गो’ भनेजस्तै हो । जति हिँडे पनि हिँड्न बाँकी रहन्छ नै ।’

वीरगन्जको भावभूमिबाट पढ्न, बढ्न र संसार बुझ्न १६ वर्षे उमेरमा ध्रुवचन्द्र जब काठमाडौं आए– उनले यहाँ विचित्र देखे । भूपी, उत्तम कुँवर, शंकर लामिछाने, नारायणगोपाल, विनोद दीक्षित, ध्रुव सापकोटा आदिसँग छेउकुनाको संगत बढ्दै गयो । यही भीडमा उनले स्यामुअल बेकेट, सात्र, कामु, ब्ल्याक–ह्युमर, डार्क–ह्युमर, राय–ह्युमर आदि बुझ्दै गए । यही राजधानीमा उनले सेक्स, स्कच, सर्रियालिजम बुझे । ‘हेर्दा सतहीजस्तो देखिने तर भित्र गहिरो अर्थ रहने यही ब्ल्याक–ह्युमरले मलाई बढी छोयो,’ उनी सम्झन्छन्, ‘पछि २०३० सालमा भारतको पुनामा पीएचडी गर्न गएपछि स्यामुअल बेकेटजस्ताको लेखाइले तान्यो, आफूले आफैंलाई गरिएको व्यंग्यजस्तो ।’ उनै बेकेट भन्छन्, ‘हामी सबै पागल जन्मेका हौं । कोही भने सधैं पागलै रहन्छन् ।’
ध्रुवचन्द्रले आफ्नै प्रेमको उत्कर्ष र विसर्जनपछि लेखे कथा— ‘श’ । त्यसमा ब्ल्याक–ह्युमर भरमार थियो । ‘श’ कथामा पनि चर्को ट्र्याजेडी छ तर सतहमा देखिन्न । लगत्तै लेखिएको नाटक ‘त्यो एउटा कुरा’ मा प्रयोग भएको शैलीलाई समालोचक मोहनराज शर्माले भनिदिए— श्याम व्यंग्य । त्यो ब्ल्याक–ह्युमरको भावानुवाद थियो । त्यसपछि २०३० सालतिर आएको उपन्यास ‘डापी’ मा यही श्याम–व्यंग्य छ । ‘सम्बन्धको गहिराइलाई हल्का ढंगले प्रस्तुत गर्न सिकाउने विधि हो यो,’ ध्रुवचन्द्र भन्छन्, ‘लेखनमा पनि सनातनीभन्दा अलग बन्ने कोसिस गरें कि भन्ने लाग्छ । मेरा हकमा अतियथार्थ वा स्वैरकल्पनाभन्दा बढीजसो अति कल्पनाले काम गर्‍यो कि भन्ने लाग्छ । जसरी सपनाको कुनै अर्थ लाग्दैन कहिलेकाहीं, यस्तै फ्यान्टासी पनि लेखेको छु यदाकदा ।’
जीवनको एउटा मोडमा यस्तो चौबाटो पनि आउँछ, अब कता जाने होला भनेजस्तो हुन्छ । ध्रुवचन्द्र काठमाडौंमा कतै जाने बाटो पहिल्याउँदै थिए । उनका दाजु धनुषचन्द्रहरू प्रयोगवादका कुरा गर्थे । यो सब टन्टाभन्दा बरु गानाबजाना ठीक हो कि ? वीरगन्जमा टोले गायक त थिए नै उनी । अनि काठमाडौंमा दिनहुँजसो रेडियो नेपाल धाउन थाले । अनेक जोडबलपछि नातिकाजीसँग चिनापर्ची भयो, ज्ञानु–मीरा राणा चिनिए । एक दिन ध्रुवचन्द्रले २ गीत लेखेर लगे, नातिकाजीले संगीत भरिदिए । ज्ञानु राणासँग ध्रुवचन्द्रको युगल स्वर थियो—
‘आँखादेखि आँखासम्म सपना बग्दै छ त्यो सपनामा डुब्न सक्ने माया चाहिन्छ ।’
फेरि मीरा राणासँग अर्को युगल थियो— ‘माया मेरो फुल्दै छ
फूल फुल्ने बारीमा...’
अब तेस्रो गीत भने एकल थियो, आफ्नै शब्द–संगीत र स्वरमा । रिहर्सल पनि पूरा भयो तर रेकर्ड गर्ने बेलामा बत्ती गयो । त्यो बत्ती त्यस दिन आउँदै आएन । अघि भनियो— जीवन भन्नु ब्ल्याक–ह्युमरजस्तै हो । अनि गायनमा पनि उति मोहन रहेन । त्यो लोडसेडिङले थिचेको गीत थियो—
‘मायामा डुब्नु बेहोसी होइन जानीजानी...’
‘यसरी जीवनको सुरुआतमा म गायक बन्न चाहन्थें । सपना र इच्छा पनि त्यही थियो । ‘कलाकार’ भन्ने पत्रिकाका कारण गायक बच्चुकैलाश, कलाकार विजय थापासँग पनि संगत थियो’, ध्रुवचन्द्र सम्झन्छन्, ‘नारायणगोपाल ज्यादै चलनचल्तीका भए भनेर बच्चुकैलाशलाई विकल्पमा मन पराउनेहरू पनि थिए । त्यही हूलमा गायक बन्ने सुषुप्त सपना साँचेको रहेछु, मेरो जिन्दगीको अर्को ब्ल्याक–ह्युमर ।’

गायन त यसरी हापेको क्षेत्र भैहाल्यो । लेखनबाट पनि जीवन धान्न मुस्किल छ भन्ने ध्रुवचन्द्रलाई लागिसकेको थियो । त्यही भएर उनी त्रिचन्द्रमा शिक्षक भए । नियमित तलब आउने र जीउज्यान पाल्ने कुरामा यो साइड–जब सही रह्यो । हो, ध्रुवचन्द्रका अहिलेसम्म २६ एकल उपन्यास छापिए, सबै विधाका कृति गरेर ५० पुगे होलान् । तैपनि, अझै किताब छाप्न प्रकाशक खोज्नैपर्ने अवस्था छ । उनका भोगाइमा, अहिले पनि लेखकले बढी ‘अब्लाइज’ हुनुपर्ने स्थिति छ । ‘किताबको पैसाबाट घर बनाएको वा तला थपेको मलाई थाहा छैन । एउटा प्रकाशकले अस्ति भर्खरै २ हजार किताब छाप्ने भनेर मसँग करारनामा गराएर लग्यो, पछि १ हजार मात्रै पो छापें सर भन्दै आयो । अब कति छाप्यो–छाप्यो, कहाँ खोज्न जाऊँ ? किन यसो गरिस् भन्दै कहाँ लड्न जाऊँ ?’ उनी पाकेको स्वरमा भन्छन्, ‘तैपनि जीवनमा मलाई दुई कुरामा कहिल्यै पछुताउ रहेन— एउटा लेखन र अर्को पेसा शिक्षण अपनाएकोमा । पैसाका हिसाबले होइन तर सन्तुष्टिका कुरामा ।’
लेखनले दिएको चिनारीमा जे जति ‘सन्तोषी’ बने पनि आफूलाई मासमा भिज्ने खालको चिनारी भने ‘वासुदेव’ फिल्म वा ‘एक सहरमा एक कोठा’ को टीभी शृंखलाले दिएको ध्रुवचन्द्र स्विकार्छन् । ‘कहिलेकाहीं नसोचेको कुरा हुन्छ,’ उनी सम्झन्छन्, ‘कलाकार नीर शाह एक दिन मेरो कोठामा आए, उनले ‘कट्टेल सरको चोटपटक’ पढेका रहेछन्, त्यहीबारे कुरा भयो । अनि फेरि त्यसमाथि फिल्म बनाउने योजना छ भन्दै ‘साइनिङ अमाउन्ट’ १ हजार रुपैयाँ दिएर बाटा लागे । अनि अरू के चाहियो, मेहफिल सुरु भैहाल्यो ।’
यसरी फिल्म बन्नुअघिको कुरा गरौं । हातमा १ हजार रुपैयाँ परेपछि ध्रुवचन्द्रसहित नारायणगोपाल, शम्भुजित बास्कोटा, ध्रुव सापकोटा, विनोद दीक्षितको टोली जमल पुग्यो, जमलको चर्चित मेवा रेस्टुरेन्टमा । साँझ निकै रसिलो–मलिलो बन्यो । कतिसम्म भने साथमा रहेको १ हजार रुपैयाँ त सकियो नै, अरू बढी बिल उठेपछि तिर्ने कसले ? उनै चल्तीका गायक नारायणगोपालको अनुहार देखाएर ‘मेवा’ मा उधारो खाता खोल्न सकियो । त्यसको केही बर्षमा मात्रै २०३९ सालतिर ‘वासुदेव’ फिल्म आयो, हिट पनि भयो । कथा, संवाद र पटकथाका लागि ध्रुवचन्द्रले ९ हजार रुपैयाँ हात पारे । त्यही लहडमा ध्रुवचन्द्रले ध्रुव सापकोटाको ‘शरीर र संवेदना’ कथामा पटकथा/संवाद पनि लेखे, निकै चल्यो । यो कथामा रमेश बुढाथोकीले टीभी शृंखला बनाएका थिए ।
यो सबै त भयो नै । तर, खानपिन र उठबसका निकटवर्ती नारायणगोपाल भने अलिक ‘अटेरी’ निस्किए । यत्तिको चलेको गायकले आफ्नो एउटा गीत गाइदिए हुन्थ्यो भन्ने लालसा ध्रुवचन्द्रमा पनि थियो । तर, ‘चुजी’ नारायणगोपालले गीत भने लिएनन् । अनेक जोडबलपछि उनले एउटा गीत लिए, लयसहितको गीत । तर ध्रुवचन्द्रको लय भने लिएनन्, गीत मात्रै खल्तीमा राखे । त्यही पनि पछि गएर ‘यसमा मिल्दो लय फुरेन’ भन्दै गाउँदै गाएनन्, अर्को ब्ल्याक–ह्युमर । यसरी अनाहकमा सहिद बनेको त्यो मृतप्राय गीत थियो—
‘उर्लेको छ जीवन म किनारामा छु मोती खोज्न डुब्छु, अँध्यारोले निल्छ...’
गीत नगाइदिए पनि संगत त थियो नै । त्यसबेला नारायणगोपाल सांस्कृतिक संस्थानमा महाप्रबन्धक थिए । उनले एक दिन ध्रुवचन्द्रलाई बोलाएरै सोधे— के ब्याले लेख्नुहुन्छ ?
‘ब्याले’ के–कसो हो, धेरै कुरा ध्रुवचन्द्रलाई थाहा थिएन । तर, पैसाको सख्त जरुरत त छँदै थियो, धेरै कुरा नसोचीकन ध्रुवचन्द्रले जवाफ फर्काए— लेख्छु । यो ३८ सालको कुरा थियो । यसरी ‘दुर्गा अवतार’ माथि ध्रुवचन्द्रले ‘ब्याले’ लेखे, ६ हजार रुपैयाँ पारिश्रमिक पनि पाए । त्यसमा दुगामार्ताले महिसासुर मारेको कथा थियो, दसैं छेकमा स्टेजमा खुबै चल्यो त्यो ब्याले । सम्भवत वसन्त श्रेष्ठले निर्देशन गरेका थिए, विमल श्रेष्ठले दुर्गा पात्र खेलेकी थिइन् । ‘त्यो मेरो जीवनकै पहिलो र अन्तिम ब्याले बन्यो, फेरि अर्को ब्ल्याक–ह्युमर’,उनी सम्झन्छन् ।
फेरि अर्कोचोटि पनि नारायणगोपालले बोलाए र, सोधे— के एउटा ‘अपेरा’ लेख्नुहुन्छ ?
सोचविचारै नगरी ध्रुवचन्द्रले भनिदिए— लेख्छु । त्यसरी फेरि एकाएक ‘कृष्ण लीला’ अपेरा लेखियो । गीत रेकर्डिङ गरेर महिनौंसम्म रिहर्सल गरिने कुरा रहेछ अपेरा, पछि थाहा लाग्यो । त्यसबापत पनि राम्रैसँग पैसा पाए, ‘मेवा’ मा लामै समय साँझ बिताउन मिल्ने गरी ।
‘नारायणगोपालले सायद मलाई लेखकका रूपमा राम्रै मानेकाले हुन सक्छ’, ध्रुवचन्द्र आत्मसमीक्षा गर्दै भन्छन्, ‘त्यही भएर उनले मलाई हठात अपेरा, ब्याले लेख्न लगाए । तर, अहँ गीतकार भने कहिल्यै मानेनन् । मेरो त के कुरा ? नारायणले उनको अनन्य यारों विनोद दीक्षितको पनि एउटै गीत गाइदिएनन् ।’

समय, समाज र सोचाइमा यति धेरै बदलाव आइसकेर पनि ध्रुवचन्द्रलाई ‘आश्चर्य’ लाग्ने कुरा एउटै छ— त्यो हो नेपाली लेखक र लेखनको स्थिति ।
‘केही रचना छापिनु नै पारिश्रमिक हो भन्ने जुगदेखि म लेखन क्षेत्रमा आएको हुँ । तर, आज पनि उही स्थिति छ,’ उनी भन्छन्, ‘मधुपर्क पत्रिकाले २०२७ सालतिर कथा छापेबापत २५ रुपैयाँ दिन्थ्यो । ‘रूपरेखा’, ‘रचना’, ‘अभिव्यक्ति’ कसैले पनि पैसा दिँदैनथे । बरु छापिनु नै ठूलो कुरा थियो । अनि छापिएपछि कसैले चिन्ला कि भनेर यसो मोहल्लामा निस्केर पल्याकपुलुक हेरिन्थ्यो, कसैले चिनेजस्तो गर्दैनथ्यो । अनि बाटा लाग्यो— आफैंमाथि गरिएको श्यामश्वेत व्यंग्यजस्तै ।’
नभन्दै ध्रुवचन्द्रका अधिकांश उपन्यास, कथा पाठ्यक्रममा छन् । ‘अलिखित’ साझाबाटै ९ संस्करण आइसक्यो । ‘निमित्त नायक’, ‘डापी’, ‘कट्टेल सरको चोटपटक’, ‘एक सहरमा एक कोठा’ जस्ता कृति बजारमैं पाइन्नन् । तैपनि अझै ध्रुवचन्द्र असली प्रकाशक खोजिरहेकै छन् । ‘अहिले सिर्जनात्मक लेखनका कृति प्रज्ञा प्रतिष्ठानले छाप्नै छाडेको छ, उता साझा प्रकाशन त कुन भग्नाबशेषमा छ— खोजीको विषय बनेको छ,’ उनी भन्छन् ।
आधा शताब्दीयता अनवरत लेखिरहने र छापिरहने लेखकमध्येका एक ‘लगे रहो साधक’ का रूपमा ध्रुवचन्द्रको चिनारी नेपाली पाठकमाझ छाएको छ । ‘योचाहिँ नलेखेको भए हुन्थ्यो भन्ने लाग्छ कि ?’ भनेर गरिएको विनयी जिज्ञासा खस्न नपाउँदै ध्रुवचन्द्र भन्छन्, ‘त्यस्तो कुनै कृति छैन । मैंले सबैजसोमा सिर्जनात्मक लेखन गरेको छु । आएकै भरमा लेखेको छु, कनेर लेखेको छैन ।’
बरु ‘अफर’ आएर लहडमा लेखिएको ‘देहमुक्त’ (ध्रुव सापकोटा र बेन्जु शर्मासहित), ‘अवतार विगठन’, ‘आकाश विभाजित छ’ (१० लेखकको संयुक्त लेखन) आदि भने नलेखेकै भए पनि खासै फरक पर्ने थिएन भन्ने ध्रुवचन्द्रलाई अहिले आएर लाग्न थालेको रहेछ । ‘मैले लेखेकोमा कसले कति सम्झेला भनेर म मतलब राख्न छाडिदिएँ । मरेर गएपछि जयन्ती मनाइएला/नमनाइएला तर सामाजिक अर्थमा केही त छाडेर गएको छु नि भन्ने लाग्छ । मसँग विषय छ, प्लट छ, कथा छ । हात चलिन्जेल लेखिरहन्छु,’ लेखनलाई लिएर आउने ‘इतर’ टिप्पणी पनि ध्रुवचन्द्र सुनिरहेका हुन्छन्, ‘कति लेख्न सकेको मुँ... पनि भनिरहेका हुन्छन् । अझ कतिले बढो प्रेमपूर्वक सविनय भनिरहेका हुन्छन्— त्यो मुँ... के लेख्छ ? म भने फिस्स हाँस्छु र, बाटा लाग्छु ।’
ध्रुवचन्द्रका जीवनमा पछुतो रहेनछ, बरु गल्तीहरू भए कि भन्ने लाग्छ । सायद ‘बेवकुफी’ पो हो कि ? ‘म सुन आज किन्थें, भोलिपल्ट बेचिहाल्थें’, उनी सम्झन्छन्, ‘आज जग्गा किन्ने, थोरै नाफा आएपछि भोलि बेचिहाल्ने । त्यो गल्ती पो थियो कि ? सम्पत्ति बाँडफाँडमा वीरगन्ज सहरको जग्गा लिन्छस् कि गाउँको भनेर मलाई सोधियो । मैंले कविभावमा गाउँकै रोजें । त्यही भएर गाउँ र म सधैं उस्तै ‘सनातनी’ रह्यौं, सहर भने कहाँबाट कहाँ पुग्यो–पुग्यो ।’
लेखनका कुरामा ध्रुवचन्द्रलाई एउटा बात लाग्दै आएको छ । ‘पुरुष–महिला बराबरीमा राखेर उसले हेर्दैन, ‘अलिखित’ यसैको उदाहरण हो’ भन्ने गरिन्छ । ‘तर, यो समाजमा रहेको ‘नजरिया’ मेरो लेखनमा उत्रिएको हुन सक्छ, अचेतन रूपमा आएको कुरा हो यो,’ ध्रुवचन्द्र स्विकार्छन् पनि, ‘बरु लेखाइमा अलिक उदारमना हुने कुरामा पहिले अकारण पनि आउँथ्यो होला, अब भने कारणसहित आउन थालेको छ ।’
ध्रुवचन्द्र पुनर्जन्म वा अर्को जीवन पाइने मान्यतामा त्यति विश्वास राख्दैनन् । जे छ यही जीवनमा छ । सम्मान, नाम–काम सबै यहीं छ । बरु अलिकति सम्पन्नता भने यो जीवनमा पुगेन कि ? भन्ने मात्रै लाग्ने गरेको छ । ‘अरू बितेर गएकाहरूलाई श्राद्ध तर्पण गरेझैं वर्षमा एकपटक त सम्झन्छन् । तर मेरो पालोमा यसरी सम्झिने पनि सायदै कोही रहला, मलाई भ्रम पनि छैन । आज हामी यस्तो युगमा बसिरहेका छौं कि कसैले कसैलाई सम्झने समय छैन,’ उनी थप्छन्, ‘यत्ति हो, नेपाली साहित्यको कुरा गर्दा मेरो नाम पनि कहींकतै सम्झिएलान् कि भन्ने लाग्छ ।’
यति गफिँदा फेरि कथाको पातलो–रेखा सम्झन सुरु भयो । यो रेखामा एउटा पात्र छ, जो रातको १ बजेसम्म जागा बस्छ । एउटा मोटरसाइकल गुज्रन्छ मध्यरात १ बजे । त्यो मोटरसाइकल सधैंसधैं ठीक त्यही समयमा आउँछ । चकमन्नमा एकान्त चिर्दै मोटरसाइकल आउँछ र जान्छ । अनि फेरि सुरु हुन्छ— चकमन्नमा एकान्त । अगाडि पनि एकान्त छ, पछाडि पनि एकान्त ।
अब कथा अघि बढ्छ यसरी ।
[email protected]

Page 19
कोसेली

बहुरंगी हृषीकेश

- सुजित मैनाली
हृषीकेश शाह तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीसँग

कूटनीति, राजनीति, मानव अधिकारवादी आन्दोलन, लेखन, प्राध्यापनलगायत अनेकन क्षेत्रमा विख्यात नाम हो– हृषीकेश शाह (१९८६–२०५९) । पञ्चायती व्यवस्था सुरु हुनुअघि र त्यसको पूर्वार्द्धमा बढी चर्चित उनी २००७ साल अथवा २०४६ सालताका पनि गुमनामचाहिँ रहेनन् । बहुदल पुनःस्थापनापछि मुख्यतः मानवअधिकारका क्षेत्रमा सक्रिय रहेर उनले आफूलाई चर्चामा राखिरहे । राणाकालदेखि बहुदल पुनःस्थापना हुँदै माओवादी सशस्त्र युद्धसम्म बेहोरेका उनले आफूलाई ती घटनाका निष्क्रिय साक्षी नभएर सक्रिय कर्ताका रूपमा दर्ज गरे ।
यतिका राजनीतिक उथलपुथलबीच हृषीकेश सक्रिय रहन कसरी सके ? यसको उत्तर खोज्न उनको व्यक्तित्व र स्वभाव नियाल्नुपर्छ । पछिल्लो समय पूर्वपरराष्ट्रसचिव मदनकुमार भट्टराईले यस्तै प्रयास गरेका छन्, आफ्नो किताब ‘परराष्ट्रका पात्र’ मार्फत । हृषीकेशबारे भट्टराईले लेखेका छन्, ‘एक व्यक्ति, सिद्धान्त र धारणाप्रति उनले दिने समर्थन एकाएक बदल्ने र पहिले अँगालेका दिशाविपरीत पनि गइहाल्ने स्वभावका थिए उनी (पृ. २१७) ।’ यस टिप्पणीको मर्मप्रति सहमत हुँदै यस आलेखमा ‘परराष्ट्रका पात्र’ मा उल्लेख हुन छुटेका हृषीकेशसम्बन्धी केही महत्त्वपूर्ण विवरणको आलोकमा उनको व्यक्तित्वबारे थप लेखाजोखा गरिएको छ ।

बहुमुखी कि बहुरंगी ?
हृषीकेशको निधनपछि हिमाल खबरपत्रिका (१–१५ पुस, २०५९) मा ओबिचुएरी छाप्दा पत्रकार बसन्त थापाले लेखेका थिए, ‘कूटनीतिज्ञ, राजनीतिज्ञ, संविधानविद्, मानवअधिकारवादी, कुशल लेखक–चिन्तक, शास्त्रज्ञ, उनी के थिएनन् ? उनी एकथोक मात्र होइन एकसाथ धेरैथोक थिए, त्यसैले उनी हृषीकेश शाह थिए ।’ यही कुरा भट्टराईले ‘परराष्ट्रका पात्र’ मा अलिक भिन्न पारामा लेखेका छन्, ‘कहिल्यै आफूलाई कुनै पनि प्रकारको अवकाशमा लान नचाहने उनी सधैं विभिन्न रूपरंगका राजनीतिक क्रियाकलापमा अग्रसर भएर चर्चामा आइरहे (पृ. २१७) ।’ थापाले हृषीकेशको बहुमुखी प्रतिभातर्फ संकेत गरेका छन् । भट्टराईले त्यस्तो प्रतिभालाई बहुरंगी जामा पहिर्‍याइदिएका छन् । हृषीकेशको ‘बहुरंगी’ चरित्रलाई बिर्सिएर उनको व्यक्तित्व र स्वभावमाथि प्रकाश पार्न वस्तुतः सम्भव छैन ।
‘राजपरिवार’ मा जन्म हुनुको संयोग र विद्याप्रतिको अतिशय लगावले हृषीकेशको बहुमुखी व्यक्तित्व निर्माण गरिदियो । पृथ्वीनारायणले गोरखा राज्य विस्तारका क्रममा गण्डकी बेँसीका आठ राज्य अर्थात् ‘टीका’ हरूलाई समावेश गर्नुअघि तीमध्येको एउटा ‘टीका’ भीरकोटका राजा थिए, हृषीकेशका पुर्खा । पञ्चायती व्यवस्थामा भीरकोटको राजपदवी खारेज हुनुअघि त्यहाँका राजा तारकबहादुर शाहका छोरा हुन् हृषीकेश ।
राणाकालताका राणहरूले पश्चिमका ‘घराना’ ठकुरी किशोरहरूलाई काठमाडौं ल्याई पढ्ने–लेख्ने तुल्याएर ज्वाइँ बनाउने गर्थे । सहिद बनाइनुअघि दशरथ चन्दलाई त्यही प्रयोजनले काठमाडौं भित्र्याइएको थियो । यसै मेसोमा तारकबहादुरले श्री ३ महाराज चन्द्रशमशेरको निगाहबाट पढ्ने मौका पाए । उनले कलकत्ताको हाइयर स्कुलबाट मेट्रिकुलेसन, त्रिचन्द्र कलेजबाट आईए र पटना युनिभर्सिटीबाट बीए उत्तीर्ण गरे । लगनशील भएर पढेबापत रोलवाला राणा जनरल प्रतापशमशेरकी छोरी मदनदिव्येश्वरीसँग उनको लगनगँठो जुर्‍यो (हृषीकेश शाह, प्रारब्ध र पुरुषार्थ, सन् २०१४, पृ. ५) । घर र मावल दुवै राजघराना भएकाले त्यसको असर हृषीकेशको व्यक्तित्वमा पर्‍यो । उनले दार्जिलिङको सेन्ट रोबर्ट्स हाइस्कुलबाट म्याट्रिक गरेर पटना विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा र इलाहावाद विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरे ।
अध्ययनसँगै जागिरे जीवनको खुड्किलो चढ्न पनि पारिवारिक पृष्ठभूमिले हृषीकेशलाई साथ दियो । श्री ३ महाराज जुद्धशमशेरको अनुग्रहबाट उनले त्रिचन्द्र कलेजमा अध्यापन सुरु गरे । पद्मशमशेरले सत्तामा आएपछि उनलाई त्रिचन्द्र कलेजमा वार्षिक १८ सय रुपैयाँ तलबसहितको नियुक्ति दिए । शनिबारको दिन पद्मशमशेरलाई पत्रपत्रिका पढेर सुनाउने अतिरिक्त जिम्मेवारी पनि पाए । पद्मशमशेरलाई प्रसन्न बनाएबापत वार्षिक २४ सय रुपैयाँ पाउने गरी ‘चिफ इन्सपेक्टर अफ स्कुल्स’ को जिम्मेवारीमा पदोन्नति भए (उही, पृ. ५३) ।
राणाशाहीको सेवामा रहँदै गर्दा छिट्टै राणाशाही ढल्ने छाँटकाँट देखेपछि पक्ष बदलेर हृषीकेश राणाशाहीविरोधी खेमामा आबद्ध भए । नेपाल प्रजातन्त्र पार्टीका नेता महेन्द्रविक्रम शाह (राजा महेन्द्र होइन) को पार्टीमा उनी गुप्त ढंगले प्रवेश गरे । प्रजातन्त्रप्रति आस्था राख्ने नेपाल प्रजातन्त्र पार्टीलगायत दलहरूबीच एकीकरण भएर नेपाली कांग्रेस गठन भएपछि हृषीकेश पनि नेपाली कांग्रेसका सदस्य बन्न पुगे । बीपी कोइराला र डिल्लीरमण रेग्मीबीचको विवादले नेपाली कांग्रेस विभाजित भएपछि रेग्मीको साथ लागेर हृषीकेशले नेपाली राष्ट्रिय कांग्रेस गठन गर्न सघाए । रेग्मीका प्रमुख सहायकका रूपमा उनले पार्टीको महत्त्वपूर्ण जिम्मेवारी सम्हाले ।
राणाशाहीविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको आन्दोलनप्रति रेग्मी सकारात्मक हुने कुरै थिएन । राणाशाहीविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ भन्ने पक्षमा पैरवी गरेर उनले नेपाली कांग्रेसले सुरु गरेको सशस्त्र संघर्षको उछित्तो काडे । कांग्रेसको संघर्ष विजयोन्मुख भएपछि चतुर हृषीकेशले रेग्मीसँग भने, ‘कुनै न कुनै रूपमा सबैले क्रान्तिमा सहयोग गर्नुपर्छ, नत्र मौकामा... हात बाँधेर बसेको भन्ने कलंक लाग्न सक्छ ।’ डिल्लीरमणले आफ्नो प्रस्तावमा चासो नदेखाएपछि आफैँ गएर कांग्रेस नेता मातृकाप्रसाद कोइरालासँग भेटे । कोइरालाले ‘हामी आफ्नै मान्छेलाई बाहेक अरूलाई हतियार दिन सक्दैनौं’ भनेपछि हृषीकेश जिल्लिए (उही, पृ. ८३) ।
अन्ततः राणा र आन्दोलनकारी शक्तिले मिलेर संयुक्त सरकार गठन गर्ने तयारी भयो । नयाँ मन्त्रिमण्डलमा क–कसलाई समेट्ने भन्नेबारे छलफल सुरु भयो । मौकाको फाइदा उठाउन रेग्मीको साथ लागेर हृषीकेश भारतबाट काठमाडौं भित्रिए । तर, काठमाडौंका जनताले उनीहरूलाई पत्याएनन् । राणाका अनुचर भनेर ढुंगामुढा गरे । यति हुँदाहुँदै पनि काठमाडौंमा केही आमसभा गरेर ‘शक्तिप्रदर्शन’ गरी मन्त्रिपरिषद्मा आफूहरूको हिस्सेदारी दाबी गरे (उही, पृ. ८९) । तर, नयाँ मन्त्रिमण्डलमा नेपाली राष्ट्रिय कांग्रेस समाविष्ट भएन । त्यसपछिका मन्त्रिमण्डलमा चाहिँ रेग्मीको समावेश भयो । रेग्मीको राजनीति अवसरवादी किसिमको थियो । त्यसैले केही समय सत्ताको स्वाद चाखेर उनी राजनीतिको किनारमा धकेलिए । तर, उनका सहायक हृषीकेशले चाहिँ रेग्मीलाई त्यागेर घरी बीपी त घरी महेन्द्रसँग निकट भई सत्ताको फन्को लगाइरहे ।

विश्वसनीयताको सीमा
‘परराष्ट्रका पात्र’ मा पूर्वपरराष्ट्रसचिव भट्टराईले आफैँले प्रत्यक्ष भोगेको कालखण्ड र संगत गरेका व्यक्तिहरूसम्बन्धी अति सामान्य विवरणका लागि पनि अरूलाई उद्धृत गरेर जोखिम पन्छाउने सरकारी कर्मचारीको मनोवृत्ति देखाएका छन् । किताबलाई विश्लेषणात्मक कम, विवरणात्मक बढ्ता बनाएर आफ्नो सीमा जाहेर गरेका छन् । यति हुँदाहुँदै पनि हृषीकेशको चर्चा गर्ने सन्दर्भमा उनले यस्ता कमीकमजोरीलाई माथ गर्न खोजेका छन् । रेग्मी र हृषीकेशबारे चर्चा गर्दै किताबमा भट्टराईले गरेको टिप्पणी रोचक छ, ‘रेग्मी र शाहबीच धेरै कुरामा समानता थियो । उनीहरूको स्वभाव पनि धेरै मिल्थ्यो । ‘सिद्धान्त साधन मात्र हो, साध्य होइन’ भन्ने दुवैको मान्यता थियो (पृ. १२२) ।’ अर्को एउटा सन्दर्भमा उनले ‘अरू’लाई उद्धृत गरेर नै सही, रेग्मीलाई ढुलमुले राजनीति गर्ने व्यक्ति भनेका छन् (उही, पृ. १२०) । यसो भनेर उनले हृषीकेशको राजनीतिलाई पनि त्यही श्रेणीमा राखेका छन् । एक ठाउँमा उनले सीधै भनेका छन्, ‘उनलाई (हृषीकेशलाई) भरपर्दो र विश्वसनीय व्यक्ति मान्नेचाहिँ सायद कोही थिएन (उही, पृ. १६५) ।’ भट्टराईले ‘परराष्ट्रका पात्र’ मा उल्लेख गर्न छुटाएका त्यस्ता अनेक प्रसंग छन्, जसले अविश्वसनीय, ढुलमुले र अवसरवादी राजनीति गर्ने सवालमा हृषीकेशले आफ्ना ‘गुरु’ रेग्मीलाई निक्कै पछाडि छोडेका थिए भन्ने देखाउँछ ।
रेग्मीले मोहनशमशेरबाट ५० हजार रुपैयाँ बुझेर प्रजातन्त्र स्थापनार्थ भएको आन्दोलनलाई असहयोग गरेका थिए (प्रारब्ध र पुरुषार्थ, पृ. ९७) । आफूलाई प्रजातन्त्रिक मूल्यमान्यताप्रति बफादार बताउने रेग्मीले आफ्नो राजनीतिक जीवनप्रति गरेको सबैभन्दा कठोर व्यङ्ग्य त्यही थियो । यस्तो ‘आत्मघाती’ व्यङ्ग्य गर्ने सवालमा रेग्मीभन्दा हृषीकेश निकै अगाडि थिए भन्ने कुरा बीपी र महेन्द्रसँगको उनको सम्बन्धको उतारचढाव हेर्दा स्पष्ट हुन्छ ।
बीपीप्रति हृषीकेशको दृष्टिकोण आरम्भमा निको थिएन । यसका लागि उनको पारिवारिक पृष्ठभूमि एक हदसम्म जिम्मेवार थियो । २००७ सालको राजनीतिक परिवर्तनपछि नेपाली राष्ट्रिय कांग्रेसलाई नयाँ मन्त्रिमण्डलमा नसमेटिएपछि बीपीको दोहोलो काढ््न हृषीकेशले डिल्लिरमण रेग्मीलाई साथ दिएका थिए । यस्तै विषयलाई लिएर नेपाली राष्ट्रिय कांग्रेसका कार्यकर्तामाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गर्दा गृहमन्त्रीसमेत रहेका बीपीलाई भेटेर हृषीकेशले गुनासो गरे । हृषीकेशको पार्टीका नेता/कार्यकर्ताले बीपीलाई हियाउन ‘गृहमन्त्री बीपी युवतीहरूसँग कानाकानापिच्चा खेलेर समय बिताउँछन्’ भन्दै एक जना युवतीले बीपीको टाउको रुमालले छोप्न लागेको फोटो छापिदिएका थिए । त्यही प्रसंग उप्काउँदै बीपीले ‘तपाईंहरू पनि कमचाहिँ हुनुहुन्न’ भनेपछि हृषीकेशले कड्किँदै बीपीलाई प्रजातन्त्रबारे सिकाउन खोजे, ‘तपाईंमा प्रजातन्त्रको राम्रो बोध होला जस्तो लागेको थियो तर नेपालको गृहमन्त्री भएर गरेको कारवाहीबाट चाहिँ प्रजातन्त्र के हो भन्ने थाहा नभएको जस्तो लाग्यो (उही, पृ. १००) ।’ राजा त्रिभुवनलाई भेटेर हृषीकेशले बीपीको यो कुराको पोल लगाए ।
प्रकारान्तरमा राजनीतिले अर्कै मोड लियो । रेग्मी र हृषीकेशबीच दूरी बढ्यो । रेग्मीको पार्टीबाट हृषीकेश निष्कासित भए । उनलाई बीपीले साथ दिए । नेपाली कांग्रेसका नेता सुवर्ण शमशेर मन्त्रिपरिषद्का अध्यक्ष भएको बेला बीपीकै चाहनाबमोजिम राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रहेका हृषीकेशलाई अमेरिकाका लागि नेपालको पहिलो आवासीय राजदूतको जिम्मेवारी थपियो । त्यसअघि महेन्द्रले उनलाई राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि बनाएर अमेरिका पठाएका थिए । बीपीकै सदिच्छाले उनी नेपाली कांग्रेसको महामन्त्री पनि बने । बीपीले प्रधानमन्त्री बनेपछि पनि हृषीकेशलाई राष्ट्रसंघका स्थायी प्रतिनिधि र अमेरिकाका लागि नेपाली राजदूतको जिम्मेवारीमा थमौती गरे । प्रधानमन्त्रीको हैसियतले बीपी राष्ट्रसंघ साधारणसभामा भाग लिन जानुअघि राष्ट्रसंघको औपचारिक कार्यक्रममै टेबुलमा जुत्ता बजार्ने तत्कालीन सोभियत संघको मन्त्रिपरिषद् अध्यक्ष निकिता ख्रुस्चेभको हृषीकेशले आलोचना गरेका थिए । बीपी अमेरिका पुगेको अवसरमा त्यही प्रसंग झिकेर ख्रुश्चेभले बीपीकै अगाडि हृषीकेशलाई हियाउन खोजे । हृषीकेशकै कुरामा सही थपेर बीपीले उनको मान राखिदिए । बीपीका यस्ता अनेकन सद्भावपूर्ण व्यवहारबाट भावुक बन्दै हृषीकेशले आफूलाई अमेरिकाको आवासिय राजदूत बनाउने बीपीको निर्णयबारे चर्चा गर्ने क्रममा लेखेका छन्, ‘मलाई बीपी बाबुले पठाएका । त्यसैले उनीप्रति मेरो लोयल्टी हुने नै भयो (उही, पृ. १६४) ।’ अर्को एउटा सन्दर्भमा बीपीप्रति नतमस्तक हुँदै उनले लेखेका छन्, ‘नेपालको ठूलो नेता भनेको विश्वेश्वरप्रसाद कोइराला हो । बाहुनको चित्त माखाको पित्त भन्ने नेपाली उखान छ तर उनको चित्त यति ठूलो थियो कि... बोलाईकन मलाई पार्टीको जेनरल सेक्रेटरी बनाए, अरू कसैले त्यसरी बोलाएर जिम्मेवारी देलान् त (उही, पृ. १६९) ?’
तर, दुर्भाग्य ! ‘लोयल्टी’ भन्ने शब्द हृषीकेशको शब्दकोशमा थिएन । बीपीसँगको उनको सम्बन्धको हकमा पनि यही कुरा लागू भयो । त्यसअघि बीपीलाई अप्ठेरो पार्ने खेलोफड्कोमा सक्रिय रहेका उनले त्यसपछिका दिनमा पनि त्यस्ता क्रियाकलापलाई निरन्तरता दिए ।
नेपाली कांग्रेसभित्र बीपीको प्रभाव छिमलेर उनलाई प्रधानमन्त्री बन्न नदिन महेन्द्रले कुनै बेला सुवर्ण र गणेशमानलाई बीपीविरुद्ध उचालेका थिए । त्यस प्रयोजनमा महेन्द्रका तर्फबाट ‘नारद’ का रूपमा प्रयोग हुन हृषीकेशले मञ्जुर गरेका थिए । बीपी सरकारविरुद्ध ‘कू’ गर्नुअघि महेन्द्रले परामर्श लिएका एकाध व्यक्तिमध्ये हृषीकेश पनि थिए । आफूले देशको सक्रिय नेतृत्व लिन लागेको जनाउ दिँदै त्यस्तो अवस्थामा आफूलाई सघाउने/नसघाउने भनि महेन्द्रले जिज्ञासा राख्दा हृषीकेशले ‘बुताले भ्याएसम्म सघाउन पाउनु आफ्नो सौभाग्य’ भएको बताएका थिए (उही, पृ. १९९) ।
‘कू’ पछि हृषीकेशले महेन्द्रसँग परराष्ट्र र शिक्षा मन्त्रालय मागे । तर, महेन्द्रले उनलाई अर्थमन्त्री बनाए । छोटो समयका लागि परराष्ट्रमन्त्री पनि बनाए । पञ्चायती व्यवस्थाका लागि संविधान बनाउन भनेर गठन गरिएको शाही विधान आयोगको अध्यक्ष पदमा समेत उनले नियुक्ति पाए ।
कृतघ्नताको हद नाघेर बीपीलाई दुत्कारेका हृषीकेशले महेन्द्रलाई पनि सकारेनन् । हुन त पञ्चायती व्यवस्था सुरु हुनुअगावै उनी महेन्द्रविरुद्ध गुप्त षड्यन्त्रमा सरिक भइसकेका थिए । राजा त्रिभुवन जुरिचमा उपचाररत रहँदा युवराज महेन्द्रले कार्यकारिणी अधिकार पाएका थिए । सम्भवतः त्यतिबेलै महेन्द्रका भाइ वसुन्धरालाई दाजुविरुद्ध ‘कू’ गर्न आफूले उकासेको हृषीकेशले आफ्नो ‘प्रारब्ध र पुरुषार्थ’ मा उल्लेख गरेका छन् । त्रिभुवन जुरिचमै रहेको बेला एकपटक महेन्द्र अमरनाथको दर्शन गर्न भारत गएका थिए । महेन्द्रका अर्का भाइ हिमालय पनि त्यतिबेला देशमा थिएनन् । वसुन्धरा राजप्रतिनिधि स्थायी समितिको अध्यक्ष बन्न पुगेका थिए । त्यतिबेला आफूले वसुन्धरालाई मौकामा चौका हान्न उकासेको हृषीकेशले सकारेका छन् । आवश्यक परेको खण्डमा भारतबाट सैनिक झिकाएर महेन्द्र समर्थकलाई तह लगाउने उपाय उनले सुझाएका थिए । वसुन्धराको अनुमति लिएर यसबारे छलफल गर्न भारतीय राजदूत भगवान सहायलाई भेटेका पनि थिए । तर, तीर्थयात्रामा गएको व्यक्तिविरुद्ध कदम चाल्दा पाप लाग्छ भन्दै सहायले हृषीकेशको प्रस्तावप्रति अभिरुचि नदेखाएपछि ‘कू’ को योजना तुहिएको हृषीकेशले लेखेका छन् (उही, पृ. १३४) । वसुन्धरा त्रिभुवनका सर्वाधिक प्रिय पुत्र थिए भन्ने कुरा १९९७ सालको सहिद काण्डमा राणाशाहीविरोधी अभियानमा लागेका युवाहरूलाई दिने सजायबारे छलफल गर्न सिंहदरबारमा गरिएको भेलामा जुद्धशमशेरले त्यहीँ रहेका त्रिभुवनलाई हियाउँदै ‘झन्डै कीराले हीरा बिगार्न लागेका थिए’ भन्दा दुई जना पहरेदार सैनिकमाथि गोली दागेर सिंहदरबार पसेका वसुन्धराले ‘के नाप्छस् त गर्’ भन्दै जुद्धशमशेरलाई ललकारेको प्रसंगले पनि देखाउँछ
(राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजा–परिषद्को भूमिका–भाग १, २०६२, पृ. १५७–५९) । त्यस्तै त्रिभुवन जेठो छोरा महेन्द्रलाई रुचाउँदैन थिए भन्ने कुरा महेन्द्रको विवाह बहिष्कार गर्न उनी कलकत्ता गएको प्रसंगले पनि पुष्टि गर्छ । त्यस्तो अवस्थामा आफ्नो उत्तराधिकारी वसुन्धरा भइदिए हुन्थ्यो भन्ने चाहना त्रिभुवनमा हुनु अस्वाभाविक होइन । यी तमाम सन्दर्भले महेन्द्रविरुद्ध वसुन्धराले ‘कू’ गर्न खोजेका थिए भन्नेतर्फ संकेत नगर्ने होइन । परन्तु चर्चामा आउन ‘मैले मुर्कट्टाको टाउको काटेँ’ सम्म भन्न बेर नलगाउने हृषीकेशको यो ‘आत्मस्वीकृति’ लाई वैकल्पिक स्रोतबाट पुष्टि नगरीकन सर्लक्कै पत्याउनचाहिँ सकिँदैन ।
कसैको साथमा केही समय रहेपछि उसलाई धोका दिने हृषीकेशको स्थायी स्वभाव थियो । यस्तो अस्थिर स्वभावकै कारण पञ्चायती संविधानको मस्यौदा तयार गरेका उनले पञ्चायती व्यवस्थालाई बढी प्रतिनिधिमूलक र जिम्मेवार बनाउनुपर्छ भनि सार्वजनिक रूपमै आवाज उठाउन थाले । यसबापत करिब १४ महिना जेल परे । त्यसपछिका दिनमा उनी लाभका पदबाट वञ्चित भए । फुर्सदिलो समयमा उनले प्राज्ञिक कर्म गरे । मानवअधिकारवादी आन्दोलनमा सरिक भए । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनको समर्थनमा उत्रिए । यसो गर्दैगर्दा २०४५ सालतिर दिल्लीमा पत्रकार सम्मेलन गरेर नेपालमाथि भारतले नाकाबन्दी लगाउनुपर्छ भन्नसम्म बाँकी राखेनन् ।
नेपाली इतिहासका एक जना दुर्लभ पात्र हुन्, हृषीकेश । उनी सबैका थिए, त्यसैले कसैका थिएनन् । कसैको हुन नसकेकैले सबैका हुन सकेका थिए । तेज दिमाग, अंग्रेजी भाषामा बलियो पकड, सशक्त लेखनशिल्प, अभिव्यक्तिकला, आत्मविश्वास, कुरा मिलाउने क्षमता आदिका कारण अविश्वसनीय हुँदाहुँदै पनि उनको साथ लिन सबैजना बाध्य भए । यस अर्थमा उनी नेपालको राजनीतिमा ‘नेसेसरी इभिल’ का भव्य नमुना थिए ।

अमेरिकी मूल्यांकन
शाह संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि र अमेरिकी राजदूत रहँदा अमेरिकी प्रशासनले उनको व्यक्तित्व र स्वभावको मूल्यांकन गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले सन् १९६० ताका तयार गरेको उनको मूल्यांकन पछिल्लो समय ‘डिक्लासिफाई’ गरेर ‘जोन एफ केनेडी प्रेसिडेन्सियल लाइब्रेरी एन्ड म्युजियम’ मा राखिएको छ । अमेरिकी प्रशासनले गरेको उनको स्वभावको विश्लेषण पढ्दा नेपाली राजनीतिज्ञहरूलाई अमेरिकीहरूले कति मिहिनसँग नियालेको हुँदारहेछन् भन्ने थाहा हुन्छ ।
‘डिक्लासिफाइड’ लेखोटमा हृषीकेशबारे भनिएको छ, ‘नेपालको एउटा तप्कामा शाह राष्ट्रवादी र पढे–लेखेका विद्वान्का रूपमा प्रतिष्ठित छन् । तर, उनी बुद्धिमानभन्दा बढ्ता चतुर (कनिङ) छन् । राष्ट्रसंघ प्रतिनिधिको जिम्मेवारी र प्रभावशाली अमेरिकीसँगको सान्निध्यका कारण उनले आफ्नो महत्त्वलाई बढी आँकेका छन् । उनले राष्ट्रसंघसम्बन्धी आफ्नो जिम्मेवारीलाई बढी सर्वोपरि मान्ने गरेका छन् र अमेरिकी राजदूतको जिम्मेवारीबाट पन्छिन पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्ने गरेका छन् ।’ उनलाई राष्ट्रसंघमा रहेका भारतीय कूटनीतिज्ञहरूले ‘डिप्लोम्याटिक इडियट’ भन्ने गरेको बेहोरा लेखोटमा उल्लेख छ । उनको स्वभावको पृष्ठभूमि केलाइसकेपछि थपिएको छ, ‘उनी महत्त्वाकांक्षी, अवसरवादी र असाध्यै ढँटुवा छन् । साधारणतया भन्नुपर्दा उनी अमेरिकाप्रति... मित्रवत् भाव राख्छन् । उनी बेलायतलाई घृणा गर्छन् र विशेषगरी पश्चिमी गठबन्धनप्रति सद्भाव राख्दैनन् ।’ उनलाई अमेरिकी प्रशासनले कसरी लिने भन्नेबारे लेखोटमा सुझाइएको छ, ‘वैचारिक प्रश्नमा उनको भर गरिनु हुँदैन, परन्तु उनको र हाम्रो अभिरुचि स्पष्टसँग समान रहेको सन्दर्भमा चाहिँ उनलाई विश्वास गर्न सकिन्छ ।’
राजासँग हृषीकेशको सीधा सम्पर्क र राजालाई प्रभाव पार्न सक्ने उनको क्षमतालाई अमेरिकाले दोहन गर्न सक्ने लेखोटमा सुझाइएको छ । ‘अहिले... राजालाई प्रभाव पार्नसक्नेमध्ये उनी सबैभन्दा अग्रणीजस्ता देखिएका छन्, यद्यपि यो दिगोचाहिँ नहुन सक्छ,’ भनिएको छ । हृषीकेशबारे देशभित्र र बाहिरका मानिसले गरेका यस्ता मूल्यांकनले कालिदासको एउटा श्लोकको स्मरण गराएको छ । ‘कुमारसम्भवम्’ मा हिमालयपुत्री पार्वतीको वर्णन गर्ने क्रममा कालिदासले लेखेका छन्, ‘मन्द बतासमा हल्लिने नीलकमलले जस्तैगरी मनमोहक तरिकाले कर्के नजरले हेर्ने कला पार्वतीले हरिणीबाट सिकेकी हुन् अथवा हरिणीले पार्वतीबाट, यस अन्योलको छिनोफानो हुन सकेको छैन (१।४६) ।’ हृषीकेशको सन्दर्भमा यस श्लोकलाई यसरी परिमार्जन गर्न सकिन्छ, ‘परिवेशअनुसार रङ बदल्ने कला हृषीकेशले छेपारोबाट सिकेका हुन् अथवा छेपारोले हृषीकेशबाट, यस अन्योलको छिनोफानो हुन सकेको छैन ।’
हृषीकेशबाट नेपाल र नेपालीले लाभ नलिएको चाहिँ होइन । नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा उनले जति अरू कुनै कूटनीतिज्ञले चिनाउन सकेका छैनन् । सोभियत संघका नेता ख्रुस्चेभसँगको बहस र विवाद, राष्ट्रसंघका महासचिव ड्याग ह्यामरसोल्डको मृत्युको छानबिन गर्ने आयोग अध्यक्षको जिम्मेवारीलगायत मार्फत उनले आफूसँगै नेपाललाई पनि संसारभरिका अखबारका हेडलाइनमा पारे । अंग्रेजी भाषामा ‘एन्सियन्ट एन्ड मिडिभल नेपाल’ जस्ता गहकिला किताब लेखेर देशलाई विदेशीमाझ अझ राम्रोसँग चिनाए । यस्ता अनेक गुणले सम्पन्न हुँदाहुँदै पनि अविश्वसनीय प्रवृत्तिका कारण उनको व्यक्तित्वको फैवालट साँघुरिन पुग्यो ।
हृषीकेशका कमीकमजोरी केलाउँदै गर्दा तिनलाई नियतको खोट भन्दा पनि स्वभावजन्य कमजोरीका रूपमा लिनु बढी उपयुक्त हुन्छ । पद अथवा पैसाको लालसाले उनले खेमा अथवा विचार परिवर्तन गरेको देखिँदैन । कुनै विचार अथवा व्यक्तिप्रति ‘लोयल’ रहन नसक्नु उनको चारित्रिक स्वभाव थियो । यदी उनको अर्जुनदृष्टि पद र पैसामा हुन्थ्यो भने पञ्चायती व्यवस्थाविरुद्ध उनले ‘भित्रैबाट बगावत’ गर्ने थिएनन् ।
हृषीकेशको निजी जीवन उनको सार्वजनिक जीवनजस्तै अस्थिर र अस्तव्यस्त थियो । त्यसैले चरम अवसरवादी हुँदाहुँदै पनि उनले सम्पत्ति संग्रह गर्न जोड गरेनन् । जीवनका अन्तिम दिनताका रोग, एक्लोपन र अभावले उनलाई गाँजेको थियो । मृत्यु हुनुभन्दा करिब दुई महिनाअघि मण्डला बुक प्वाइन्टमा हृषीकेशले किताब किन्न पैसा नभएपछि ‘मसँग अहिले पैसा भएन, ल यो लिनुस्’ भनेर सुनका असर्फी पसलेलाई दिन खोजेको विवरण अभि सुवेदीले ‘किताब र चम्चा’ शीर्षकको निबन्धमा उल्लेख गरेका छन् (समकालीन साहित्य, पूर्णांक ७०, पृ. ५–८) । परिवारिक पृष्ठभूमि र सत्ताको केन्द्रमा वर्षौं बिताएको उनको विगत नियाल्दा उनीसँग किताब किन्ने पैसा नहुनुलाई आश्चर्य नै मान्नुपर्छ । हृषीकेशको मृत्युपछि कर्मकाण्डमा चाहिँने चाँदीको झारी खोज्न उनको परिवारका सदस्यले ठूलै दौडधुप गर्नुपरेको थियो भनी निकटस्थहरूबाट पङ्क्तिकारले सुनेको कुरा उल्लेख गर्नु यहाँ सान्दर्भिक हुन्छ ।
अनेक रङका कुचीले कोरिएको हृषीकेशको जीवन विचित्रसँग बहुरंगी थियो । त्यसैले उनलाई सग्लो रूपमा नभएर खण्डखण्डमा बुझ्ने फ्रयत्न गर्नु बढी सहज हुन्छ ।
@sujitmainali

Page 20
कोसेली

म किन कचकच गर्छु ?

म भाषाविद् होइन । मैले भाषाशास्त्र पढेको छैन । मसित संस्कृतको पटक्कै ज्ञान छैन र नेपाली व्याकरणकै नियमहरूका बारेमा पनि ममा राम्रो दखल छैन । आफ्नो अज्ञानता र ज्ञानको दोयमपना मेरा लागि सधैँ पछुतो र ग्लानिको विषय रहेको छ ।
- केदार शर्मा

कतै पस्न लाग्दा आफूले जुत्ता खोलेका ठाउँमा अरू कसैको चप्पल उल्टो परेको छ भने तपाईँ त्यत्तिकै हिँड्नुहुन्छ कि सुल्ट्याइदिन मन लाग्छ ?
मैले केही दिनअघि, ट्विटरमा यही प्रश्न सोधेको थिएँ । २४ घण्टामा, त्यो ‘जनमत’ मा भाग लिने ७४६ जनामध्ये ९४ प्रतिशतले भने, ‘अँ, सुल्ट्याइदिन मन लाग्छ !’
अर्काको जुत्ता उल्टो हुँदा हाम्रो के बिग्रिन्छ र ? तर, ‘जुत्ता उल्टो भयो भने अलच्छिन लाग्छ’ भन्ने सुनेर हुर्केकाले होला, उल्टो जुत्ता हेर्न पनि सक्दैनौँ !
जुत्ताचाहिँ उल्टो हुनु नहुने, भाषाचाहिँ उल्टो (अर्थ दिने), घैमल मिसिएको र फोहोर हुँदा हुने ?
मेरो कचकच पनि त्यस्तै, ‘ए बाबा, आफ्नो जुत्ता त सुल्टो पारेर राखौँ न !’ भनेजस्तै वा उल्टो परेको हेर्न नसकेर अर्काको जुत्ता सुल्ट्याइदिए जस्तै मात्र हो !

नाम काढेर वा नकाढी म यस्ता गाली खाइरहन्छु –
‘भासा भनेको कमिनीकेसनका लागी हो । एस्को उद्धेस्य अर्काको कूरा बुज्नु र आफ्नो कुरा बुजाउनु हो । तर आफुलाइ पन्डीत भन्ठान्ने, केही भासिक अतीबादी, ग्रामर नाजीहरू सुद्दताका नाममा दादागिरि गर्छन् ।’
सामाजिक सञ्जालमा मप्रति लक्षित यस्ता खाले टिप्पणी आइरहन्छन् –
‘ल्याङ्गवेज भनेको प्रोग्रेसिब हुन्छ । रुल्स र नियम मात्र भन्यो भने नेपाली पनि संस्कृत जस्तो डेड ल्याङ्वेज हुन्छ । अरु ल्याङ्वेजबाट रिलेभेन्ट वर्डस्हरू इम्पोर्ट गरेर नै इङलिस रिचेस्ट ल्याङ्वेज भएको हो । प्योर नेपाली लेख्नुपर्छ भनेर नयाँ वर्डहरूलाई एक्सेप्ट नगर्ने प्युरिस्टहरूले नै ल्याङ्वेजलाई खत्तम पार्छन् । इन्ड्यामा गान्धीले रेललाई ‘लौहपथ गामीनी’ भनेको थियो, चल्यो ?’
मलाई ‘भाषिक कचकच’ का बारेमा कसैले गाली गर्दा उस्तो दुःख लाग्दैन । गाली, त्यो पनि खराब भाषामा खानुपर्दाचाहिँ दिक्क लाग्छ ।
– हामी देश र राष्ट्रियताको कुरा ठूल्ठूला स्वरमा गर्छौँ तर भाषा–साहित्य कमजोर भएको कुनै पनि देश सही अर्थमा बलियो हुँदैन भन्ने कुराचाहिँ बुझ्नै चाहँदैनौँ ।
– हामी समाजमा अराजकता हुनुहुँदैन, सबैले समानरूपले नियम–कानुनको पालना गर्नुपर्छ भन्ने कुरा भनिरहन्छौँ तर भाषामा भने ‘जसरीसुकै लेखे पनि हुने’ अराजकताको पक्षपोषण गरिरहन्छौँ ।
– हामी सुस्ता र महाकालीमा छिमेकीले सिमाना मिचेको कुरा गरेर आफ्नो देशभक्तिका तक्माहरूमा पालिस लगाउँछौँ तर बैठक कोठाहरूबाट छिरेको हिन्दी र स्कुलहरूबाट आएको अंग्रेजीले आफ्ना बालबालिकाको आफ्नो भाषा राम्रोसित पढ्ने लेख्ने क्षमता (जो कसैको व्यक्तिगत मात्र नभई राष्ट्रिय सामर्थ्य पनि हो) खत्तम पारेको बारेमा कुरा पनि गर्न चाहँदैनौँ ।
‍अनि मलाई बैरागी काइँलाको कविताका भाषामा ‘झोँक चल्छ’ । तर, म केही गर्न सक्दिनँ, काँल्दाइकै जस्तो, मेरो झोँक पनि ‘तर बस् झोँक चल्छ’ मा सीमित हुन्छ । अनि त्यसैबाट सुरु हुन्छ मेरो कचकच ।

कचकचको थालनी
मेरो ‘कचकच’ को थालनी भएको हो, ‘नेपाली युनिकोड’ को प्रयोग बढाउने अभियानबाट । कम्प्युटर चलाउन थालेको निकै वर्षपछि मात्र, २०५८ मा मैले बल्लतल्ल प्रीतिलगायतका फन्टमा नेपाली लेख्न सिकेको थिएँ । मैले २०६०–६१ तिर नेपाली युनिकोड चलाउन पनि सिकेँ र तुरुन्तै त्यसको मोहमा परेँ । कारण थियो त्यसको वैज्ञानिकता । सजिलो गरी कम्प्युटरमा नेपाली लेख्न जानेपछि मलाई आफ्नो कार्यक्षमता निकै बढेको अनुभव भयो । अनि म ‘नेपाली युनिकोड’ को स्वैच्छिक ‘धर्मप्रचारक’ भएँ र युनिकोड सिकाएर हिँड्न थालेँ । लेखेर र बोलेर गरिखाने व्यक्ति म बलियो हुनका लागि मेरो भाषा बलियो हुनुपर्छ र मेरो भाषा बलियो हुनका लागि यो भाषा बोल्ने र लेख्ने सबैको भाषिक क्षमता बलियो हुनुपर्छ भन्ने मान्यताले मलाई त्यो कचकचको थालनी गराएको थियो ।
पछि त्यही र त्यस्तै कामका लागि मदन पुरस्कार पुस्तकालय (मपुपु) ले मलाई ‘पार्ट टाइम’ जागिरसमेत दियो, अझ धेरै र अझ मन फुकाएर त्यही काम गर्ने अवसर दियो । त्यसबेला हामीले नेपाल सरकारसित सम्झौता (एमओयू) नै गरेर ‘विद्युतीय सुशासन’ का लागि नेपाली युनिकोडको प्रयोग बढाउन तालिम आदिसमेत दिएका थियौँ ।

सञ्जालमा नेपाली
मेरो दोस्रो चरणको कचकच सुरु भएको थियो २०६५ वैशाखमा फेसबुकमा प्रवेश गरेदेखि । फेसबुकमा नेपाली अक्षरमा लेख्न सकिन्थ्यो तर युनिकोड चलाए मात्र । युनिकोड नचलाउनेहरूका लागि अंग्रेजीमा वा रोमनाइज्ड नेपालीमा (अंग्रेजी अक्षरमा नेपाली) लेख्नेबाहेक उपाय थिएन । त्यसैले अधिकांश नेपालीको फेसबुकमा जानीनजानी लेखिएको अंग्रेजी (जसका अनेक हास्यास्पद उदाहरण छन्, ताफनि अहिलेलाई त्यो हाम्रो विषय होइन,) र हृयचष् बिष् कबलअजबष् ट। हृबच टष्भपष् बिष् बिष् ऊबलष् चबचय ट जस्तो ‘नेपाली’ भाषाबाट भरिएको हुन्थ्यो ।
तर, युनिकोड सिक्न गाह्रो थिएन र त्यसमाथि हामी निःशुल्क रूपमा सबैलाई सिकाइ पनि रहेका थियौँ । अहिलेजस्तो सजिलै नेपाली चल्ने एन्ड्रोइड फोन आइसकेको थिएन । देवनागरीमा रोमन लिपिमा नेपाली लेखिरहने प्रवृत्ति नेपाली भाषाका लागि निकै घातक पनि हुन सक्थ्यो । त्यसैले म त्यसबेला रोमनमा नेपाली लेख्नेहरूप्रति अलि आक्रामक पनि भएँ, निकै समयसम्म त रोमनाइज्ड नेपालीमा लेख्नेहरूलाई जवाफ नदिने र उल्लीबिल्ली पार्ने काम पनि गरेँ । मदन पुरस्कारको जागिर छाडिसकेकाले र मेरो ‘छुच्याइँ’ ले संस्थागत रूपमा कसैलाई नछुने भएकाले पनि म फुक्काफाल भएको थिएँ । तर, त्यसबेला पनि म कचकचे र छुच्चो मात्र थिइनँ । म कम्प्युटरमा नेपाल युनिकोड जडान गर्न र नेपाली युनिकोडमा टाइप गर्न सिकाउन सधैँ तयार नै हुन्थेँ । मैले नजानेका नसकेका समस्या समाधान गरिदिन मपुपुमा क्षमतावान् साथीहरू सधैँ तयार थिए । त्यसबाट ‘कम्प्युटरमा र फेसबुकमा नेपालीमा लेख्न सकिन्छ र त्यो तरिका सिकाउन तयार मान्छेहरू छन्’ भन्ने कुरा धेरैलाई थाहा भयो ।
सुरुमा गुगलमा खोज्ने गरी नेपाली सामग्री थिएनन् तर सामग्री थपिँदै जाँदा पुराना फन्टमा भएका सामग्री ‘सर्च गर्न’ मिल्दैन र युनिकोडले मात्र सर्च गर्ने सुविधा दिन्छ भन्ने भएपछि भने युनिकोडको प्रयोग निकै बढेर गयो ।
एन्ड्रोइड फोनमा राम्रोसित देवनागरी चल्न थालेको २०६८–६९ मा एन्ड्रोइड ४.१ (जेलिबिन) आएपछि मात्र हो । त्यसबेला अरू नेपाली किबोर्डहरू आएका थिएनन् । म ‘मल्टिलिङ किबोर्ड’ चलाउँथेँ । तुरुन्तै त्यो कुरा म अरूलाई पनि सिकाउन थालेँ । नेपालीमा लेख्दा कसैलाई पनि परिआउने कुनै पनि प्रकारको समस्या समाधान गर्न सकभर म सधैँ आफैँ अघि सरेँ, नसक्दा आफूभन्दा जान्ने मान्छेहरूकहाँ पठाएँ । मैले ‘कचकच’ मात्र कहिल्यै गरिँन ।
अहिलेको स्थिति धेरै फरक भइसकेको छ । इन्टरनेटको व्यापकता र एन्ड्रोइड फोनहरूको विकासले हाम्रो डिजिटल खाडललाई धेरै पुरेको छ र नेपाली मात्र नभएर संसारभरका सबैजसो भाषालाई बलियो हुने प्राविधिक आधार प्रदान गरेको छ । अब नेपाली भाषालाई रोमन अक्षरले पेल्ने कुनै डर छैन । त्यसैले हिजोआज त म यदाकदा, विषय र सन्दर्भ हेरेर रोमनमा लेखिएका कुराको जवाफसमेत दिन थालेको छु । अब नेपाली भाषा देवनागरी लिपिमा लेख वा रोमनमा नलेख भनेर कसैलाई भनिरहनु पर्दैन ।
अहिले मेरो ‘कचकच’ को रूप फेरिएको छ । अहिले म कुनै पनि कुरा सकभर शुद्ध लेखौँ र आफ्नो भाषाका शब्दले काम चलुन्जेल अरू भाषाका शब्द नल्याऔँ भन्नेमा बढी ध्यान दिन थालेको छु ।

जसले पनि शुद्ध लेख्न सक्छ
म भाषाविद् होइन । मैले भाषाशास्त्र पढेको छैन । मसित संस्कृतको पटक्कै ज्ञान छैन र नेपाली व्याकरणकै नियमहरूका बारेमा पनि ममा राम्रो दखल छैन । आफ्नो अज्ञानता र ज्ञानको दोयमपना मेरा लागि सधैँ पछुतो र ग्लानिको विषय रहेको छ ।
तर मलाई थाहा छ, जसरी राम्रोसित सास फेर्नका लागि अक्सिजन र फोक्सोको विज्ञान जान्नु पर्दैन, त्यसरी नै राम्रो भाषा बोल्न र लेख्न व्याकरणका नियमहरू थाहा नभए पनि हुन्छ । किनभने संसारभरका सबै भाषा सर्वसाधारण मान्छेले बोलेका भरमा बनेका, बाँचेका र परिमार्जन हुँदै गएका हुन् । व्याकरण भाषा कसरी प्रयोग हुँदो रहेछ भन्ने कुराको मसिनो गरी अध्ययन गरेर भाषाका ती नियमहरूलाई सैद्धान्तीकरण र लिपिबद्ध गरिएको अभिलेख मात्र हो । समाजमा अमनचयन कायम गर्नका लागि यसकै मूल्य, मान्यता, प्रचलन र अन्तर्राष्ट्रिय अभ्यासअनुसार, बनेका कानुनहरूको प्रयोग भएजस्तै भाषालाई स्तरीकरण गर्न, एकरूपता दिन र सबैका लागि सजिलो बनाउनका लागि मात्र व्याकरणका नियमहरूको पालना गर्नुपरेको हो, शब्दहरूको प्रयोगलाई स्तरीकरण गर्न र भाषालाई प्रभावकारी बनाउनका लागि मात्र कोशहरूको सहारा लिनुपरेको हो ।
आफ्नो भाषाप्रति आधारभूत प्रेम, सम्मान र आत्मविश्वास हुने जसले पनि शुद्ध लेख्न सक्छ । अंग्रेजी लेख्दा ‘ग्रामर’ वा ‘स्पेलिङ’ बिग्रेको थाहा हुनासाथ (८) चिह्न दिएर सच्याउनेहरूलाई कुन अहंकार वा कुन हीनताबोधले आफ्नो नेपाली भाषा परिमार्जन गर्नबाट रोक्छ भन्ने बुझ्ने हो भने जसले पनि शुद्ध लेख्न सक्छ । भाषाप्रतिको आफ्नो निहुँ खोजाइ, हेल्चेक्य्राइँ र हेपाइ कम गर्ने हो भने जसले पनि शुद्ध लेख्न सक्छ ।
यति भनिसकेपछि मैले निहुँ खोजाइ, हेल्चेक्य्राइँ र हेपाइँको पनि व्याख्या गर्नैपर्छ । ‘नेपाली भाषाका पण्डितहरू नै झगडा गर्छन्, अनि हामीलाई अलमल हुन्छ,’ भन्नु निहुँ खोजाइ मात्र हो । पण्डितहरूका बीचका असहमति थोरै कुरामा मात्र छन् । उनीहरू मूलतः आगन्तुक शब्दहरूलाई कसरी लेख्ने र किन भन्नेबारेमा बहस गरिरहेका छन् । ‘शहीद’ लेख्ने कि ‘सहिद’, ‘शहर’ लेख्ने कि ‘सहर’ भन्नेमा अल्मलिनुलाई अस्वाभाविक नमानौँ, तर उनीहरूको बहसको निहुँ पारेर ‘रास्ट्रिय राजनिति’ (हाललाई एउटा मात्र उदाहरण) लेख्नु, अझ, एक ठाउँमा ‘राजनिति’ र अर्को ठाउँमा ‘राजनिती’ लेख्नु हेल्चेक्य्राइँ र हेपाइ हो ।
न्यायक्षेत्रमा संवैधानिक पदमा बसिसकेका, नेपाली भाषाका सामान्य हिज्जेबाहेक संसारका सबै कुरा जान्ने मान्छेले न्यायिक क्षेत्रका सामान्य शब्द पनि प्रत्येकपटक गल्ती लेख्नु भनेको नजानेको होइन, नेपाली भाषालाई हेपेको हो । पढे–लेखेका मान्छेले आफ्नो मूल गरिखाने भाषाका सामान्य र एकदमै प्रचलित शब्दका हिज्जे पनि शुद्ध लेख्न सक्दिनँ भन्नु उनीहरूलाई त्यस्तो नलागे पनि, उनीहरूको आफ्नै अपमान हो ।
नेपाली शब्दहरू हुँदाहुँदै हिन्दी (अहिलेलाई हिन्दीको मात्र कुरा गरौँ) घुसार्दै जानुलाई म ‘नेपाली भाषाविरुद्धको षड्यन्त्र’ नै त भन्दिनँ, तर अल्छीपना र हेपाइ भन्न अप्ठ्यारो मान्दिनँ । अनि, हाम्रा क्रिकेट खेलाडीहरूले अर्कालाई ‘समेट्दा’ (लामो कचकचपछि जुन अहिले निकै कम भएको छ) हवाइजहाजहरूले ‘उडान भर्दा’ र हाम्रा पहाडहरूमा ‘भारी’ हिउँ पर्दा म कचकच गर्छु । नेपाली भाषा मेरा लागि मेरो नेपाली नागरिकताभन्दा महत्त्वपूर्ण कुरा हो, यसको रक्षाका लागि म कचकच गर्छु, गरिरहन्छु ।

सन्तानको भाषा
यो लेख उत्तरार्द्धतिर आइपुगेको छ र मलाई पाठकलाई एउटा प्रश्न सोध्नुपर्छ भन्ने लागेको छ । तपाईं आफ्ना सन्तानले कस्तो भाषा लेखून् भन्ने चाहनुहुन्छ ? उनीहरूले जे पायो त्यही लेखेर ‘कुरा बुझाए’ पुग्छ कि आफ्नो काम गर्ने भाषा (हरू) मा उनीहरूको राम्रो दखल होस्, उनीहरूले लेखे–बोलेका कुरा प्रभावकारी होऊन् भन्ने चाहनुहुन्छ ?
कुनै पनि आमाबाबुले आफ्ना सन्तान ‘काम चलाउ’ भाषा मात्र बोल्न वा लेख्न सक्ने होऊन् भन्ने सोच्लान्जस्तो मलाई लाग्दैन । भाषा मान्छेको अनुहार हो । भाषा उसका क्षमताहरूको क्षमताको सोकेस हो । जुन भाषा बोले पनि हुन्छ, जुन भाषा लेखे पनि हुन्छ, तर त्यो शुद्ध र प्रभावकारी छैन भने अबको संसारमा राम्ररी गरिखान गाह्रो हुन्छ ।
‘बुझिए भइहाल्छ नि’, वा ‘जस्तो लेखे पनि हुन्छ’ भन्नेहरू तपाईं–हाम्रा शत्रु हुन् । जो तपाईँ हामीलाई झुर भाषाको अराजक अहंकारमा फँसाएर आफ्ना सन्तानको शिक्षा र भाषिक उन्नयनका लागि खर्च र मिहिनेत गर्छन् ।

उडाउनेहरू नै उडिरहेका छन्
अँ, अनि रेललाई ‘लौहपथ गामिनी’ भन्नुपर्छ भनेर गान्धीजीले त परै जाओस् , कुनै पनि भारतीय भाषासेवीले कहिल्यै पनि प्रस्ताव राखेको होइन । त्यो त्यसबेलाका शुद्धतावादीहरूलाई उडाउनका लागि बनाइको ठट्टाको अंश हो । यस्ता शब्द रेल मात्र होइन, रिक्सा, लाइटर, चियाजस्ता अरू धेरै कुराका लागि बनेका थिए । रेललाई त अझ ‘लौहपथ गामिनी, वाष्प–धूम सञ्चालिनी’ समेत भनेर शुद्धतावादीहरूलाई उडाइन्थ्यो । तर, शुद्धतावादीहरूलाई उडाउँदाउडाउँदै आज हिन्दीभाषीहरू आफैँ उडिरहेका छन् । अहिले हिन्दी ‘हिङ्लिस’ भइसकेको छ । आम हिन्दीभाषीको कुराकानीको भाषामा अंग्रेजीको प्रदूषण दिल्लीको हावामा धूलो र धूवाँको भन्दा बढी देखिन्छ । नेपाली भाषालाई पनि त्यस्तै बनाउन खोज्नु भनेको बंगालको खाडीमा पनि फोहोर मिसिएको छ नि भनेर फेवातालमा ढल मिसाउन खोज्नुजस्तो हो ।
र यति बुझेर पनि, ‘भाषा भनेको बुझ्नलाई त हो’ भन्नेलाई त नकेलाएको, बियाँ र ढुंगासरीको भात र पटक्कै नकेलाएको साग पस्केर, ‘ज्युनार होस् हजुर, खाना भनेको खानलाई त हो,’ भन्नेबाहेक अर्को उपाय छैन, म त्यसै भनिरहन्छु ।
मलाई आफ्नो कचकचप्रति ग्लानि होइन बरु गर्व छ, किनभने यस्तै ‘कचकच’ हरूले दिएको आत्मविश्वासकै कारण म अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा समेत नेपाली भाषीहरूसितको सबै पत्राचार नेपालीमा गर्छु । त्यस्तोमा म नेपाली भाषाको इज्जत बढेको अनुभव गर्छु । भएन, अंग्रेजीमा लेख्नुहोस् भनेर कसैले भनेको छैन, बरु कहिलेकाहीँ मलाई ‘नेपालीमा लेख्न नसकेकाले अंग्रेजीमा लेख्दै छु, सरी’ भनेर इमेल आउँछन् । मैले हिज्जे वा भाषाका बारेमा सुझाव दिँदा मेसेज गरेर धन्यवाद दिने धेरै छन् र आफूले ध्यान दिएर, शुद्ध नेपाली लेख्न थालेकोमा मलाई जस दिने पनि निकै छन् ।
मैले खोजेको पनि त्यत्ति नै हो । मान्छेले खाना खाँदा बियाँ लाग्नु राम्रो होइन भन्ने बोध हुनेले मात्र केलाएर खाने–खुवाउने हो । भाषाको भान्सा फराकिलो हुन्छ र आफूले पस्केको ‘खानेकुरा’ खाँदा कसैको दाँतमा ढुंगा नलागोस् भन्ने आत्मसम्मान भएका भान्से बिस्तारै भए पनि बढ्दै जालान् भन्ने आशा बढ्न थालेको छ । अझै केही समय बाग्देवीका मन्दिर अगाडि उल्टोपाल्टो पारेर थुपारिएका जुत्ता म सुल्ट्याइदिइरहन्छु । के थाहा, सधैँ अर्काले सुल्ट्याइदिएको देखेर जुत्ता–चप्पल उल्टा राख्नेहरू आफैँ सुल्टो राख्न थाल्लान् कि ?

कोसेली

यांकी क्षेत्रमा हिउँको उत्पात

- राजव

हिजो डिसेम्बरको पहिलो आइतबार र पहिलो तारिख थियो । यो सिजनको पहिलो हिम वर्षा हुने दिन पनि । बिहान केही बेर घाम हल्का रूपमा यताउता सडकतिर छरिएका थिए । सब रूखहरूलाई पातहरूले छोडेको धेरै दिन भइसकेको छ । अब ती कंकालजस्ता देखिन्छन् । ठिहीको प्रकोपले तिनका हाँगाहरू कुरूप सिटाजस्ता भएका छन् । तिनलाई छुँदै घाम भुइँमा फैलिएका थिए । त्यसकारण ती मृतप्रायः सिटाहरूले पनि घामको न्यानो महसुस गर्न पाए होलान्जस्तो लाग्थ्यो । घरका लनका घाँसहरू र धुपीका बोटहरू अझ हरियै छन् । धुपी त ज्यान्द्रो नै हुन्छ । हिउँ, ठिही जत्ति पनि सहन सक्ने । कृष्णले भनेजस्तै स्थितिप्रज्ञ । तर, लनका घाँसहरू स्थितिप्रज्ञ हुँदैनन् । ती पूरै झोक्रिनेछन् । घामको एक छिनको त्यो रमझम दुर्लभ पुतलीझैं बिलायो । फेरि आकाश धुम्मियो । वातावरण सुरुआती साँझझैं धमिलियो । एघार बजेपछिको हालत थियो यो । यो हिउँ पर्नुपूर्वको सांकेतिक वातावरण थियो । हिमवर्षाको गर्भे पिरियड भने हुन्छ यसलाई । धुम्मिएको घण्टौंपछि हिउँका फुल्का झर्न थाल्छन् । आइतबार हुनाले सडकमा गाडीहरू कम गुडेका थिए । त्यसमाथि हिउँ पर्नेवाला दिन थियो । टीभीका वेदर च्यानलहरूको घोषणाअनुसार, हिउँ पर्न तीन बजेबाट सुरु हुनेवाला थियो । त्यसकारण वाकका लागि म दुई बजे निस्किएको थिएँ । कामले गर्दा म मर्निंङ वाक गर्न भ्याउन्नँ । त्यसकारण यो काम म कामबाट फर्केपछि साँझ मात्र गर्छु । अर्लिंगटन टाउनमा सरेपछिको मेरो ओर्कआउटको रुटिङ यस्तै छ ।
मेरो अपार्टमेन्टपछाडि छ, मैले हिँड्ने गरेको मिउटम्यान बाइक पाथ । यो हिँड्ने र साइकल गुडाउनेहरूका लागि मात्र बनेको बाटो हो । यो दस माइलसम्मको लम्बाइमा बेडफोर्ड सहरसम्म तन्किएको छ । एक वर्ष अगाडिसम्म म यो बाटोमा जगिङ गर्थें । जगिङ गर्दा म दुई अढाई माइलसम्म गर्थें । तर, अब त्यस्तो सकसको दौड छोडेको छु । र, फुर्तिलो हिँडाइ थालेको छु । अर्थात् चार माइल ब्रिस्किङ गर्छु । त्यसमाथि पचास, साठी पुसअप गर्छु । त्यसकारण योभन्दा बढीको हिँडाइ किन चाहियो ? छैसठ्ठीवर्षे मेरो शरीरका लागि यो पर्याप्त छ अथवा बढी नै । लेही हस्पिटलकी मेरो प्राइमरी केयर डाक्टर मार्ग्रेट गाड्न पनि भन्छे ‘डन्ट पुस योर सेल्फ ।’ उसले त्यसो भनेपछि मेरो व्यायामको अब्सेसन कम भएको छ । अहिलेसम्म आकस्मिक रूपमा आइलाग्ने मौसमी व्याधिका बाहेक नियमित रूपमा निल्नुपर्ने कुनै पनि औषधिमा मैले खर्चबर्च गर्नुपरेको छैन । यो सबको देन मिउटम्यान बाइक पाथ नै हो । मलाई त्यस्तै लाग्छ । किनभने सुन्दर प्रकृतिबीच बनेको यो मिउटम्यान बाइक–वे नभएको भए सायद म नियमित हिँड्ने थिइनँ । र, मेरो डाक्टर मार्ग्रेट गाड्न मलाई भनिहाल्ने थिई, ‘लु खा नेपाली ! सुगरको औषधि, प्रेसरको पिल्स ।’
मिउटम्यान बाइक पाथको दायाँबायाँ वृक्षहरू, बुट्यानहरू र झाडीहरू प्रशस्त छन् । बीचबीचमा आफ्नो गतिको मीठो ध्वनि सुनाउँदै बग्ने सङ्ला पानीका खोल्साहरू पनि आउँछन् । चौडाइको हिसाबले आठ फुटको मिउटम्यान बाटोको पिच एकदम सलल बग्ने चिल्लो छ । दायाँबायाँ छुट्याउने बीचमा सेतो डेढ इन्चको डिभाइडर लाइन छ । मास्तिर हिँड्दा दायाँपट्टि हिँड्नुपर्छ, फर्कंदा बायाँ । साइकल, बाइसाइकल कुदाउनेहरूले यो नियम सख्त रूपमा पालन गरेका हुन्छन् । मिउटम्यानमा हिँड्ने, कुद्ने, लम्कने, साइकल कुदाउनेहरूको लहर चलिरहेको हुन्छ । बच्चाहरूलाई स्टोलरमा राखेर आमाहरू पनि जगिङ गरिरहेका हुन्छन् । ब्रिस्किङका हिप हल्लाइरहेका हुन्छन् । कतिपय आफ्ना बच्चाहरूलाई साइकल सिकाइरहेका हुन्छन् । साइकल कुदाउनेहरू ‘आई एम अन योर राइट’, ‘आई एम अन योर लेफ्ट’ भन्दै हिँड्नेहरूलाई सचेत पार्दै दायाँबायाँबाट हुइँकिइरहेका हुन्छन् । तर, म बाइसाइकलतिर आकर्षित भइनँ । मलाई हिँड्नै मज्जा लाग्छ । हिँड्नुको आनन्द प्याडल चालमा छैन । साइकलवाला पनि यस्तै सोच्दा हुन्, साइकलको आनन्द हिँड्नेलाई के थाहा ? सिम्पल कुरो छ, जसलाई जुन गति मन पर्छ त्यही अपनाउने हो । मिउटम्यानमा लम्कँदै, लम्कँदै म आफ्नो मजा र गतिमा दुई माइल माथि पुग्छु । र, फर्कन्छु । आफ्नो अपार्टमेन्ट पुग्दासम्म चार माइल हिँडाइको मेरो नियमितता पूरा भएको हुन्छ । तर, हिजो म त्यत्ति परसम्म पुगिनँ । डेढ माइल पुग्दानपुग्दै रुईजस्ता हिउँका फुल्काहरू झर्न थाले । त्यसकारण म बीचैबाट फरक्क फर्किएको थिएँ ।
म फर्कन थालेको पाँच मिनेटपछि सघन रूपले चर्को गतिमा बाक्ला हिउँका फुल्काहरू आक्रामक रूपमा बर्सन थाले । ती फुल्काहरूले मेरो अनुहार र विशेषगरी मेरो आँखामा प्रहार गरिरहेका थिए । चिसोबाट जोगिन मेरो शिरमा नेपाली पस्मिनाको कानछोपुवा टोपी थियो । त्यसकारण कपालको खडेरी लागेको मेरो शिरको अनाथ छालाहरूले आक्रामक हिउँ फुल्काहरूको चिसा थप्पड सहन परेको थिएन । तर, मेरो टोपी तिनको बोझ बोक्दै थियो । हिउँका त्यस्ता फुल्काहरू धमाधाम मेरो टोपीमा अवतरण हुँदै थिए । त्यसरी अवतरित हिउँ–फुल्काहरू थपिँदा–थपिँदा दस मिनेटभित्र मेरो टोपीको रूपको अस्तित्व हिउँको डल्लोजस्तो भएको थियो । मेरो सामुन्नेबाट मास्तिर लम्किरहेकाहरूको शिरको टोपीको हाल पनि त्यस्तै थियो । तिनको अमेरिकन कानछोपुवा शिरपोश हेरर म आफ्नो टोपीको हाल बुझिरहेको थिएँ । हिँड्दाहिँड्दै मिउटम्यानको कालो पिचको रङ छोपिएर पूरै सेतो भैसकेको थियो । दायाँ–बायाँका
नाङ्गिएका कंकाल रूखहरूका जीर्ण हाँगाहरू हिउँले ढाकिएर ती अकस्मात फुलेझैँ देखिन थालेका थिए । जगरहरू बेपर्बाह कुदी नै रहेका थिए । हिँड्नेहरू चिप्लिएर बजारिन नपरोस् भन्नेमा सचेत पाइला चालिरहेका थिए । पैंसठ्ठी पार उमेरको मेरो चाल पनि त्यस्तै सचेत थियो । मेरा परेला र आँखिभौं चिसा हिउँका फुल्काहरूले ढाकिसकेका थिए । चिसोले गाला र नाकको टुप्पो रातो न रातो भैसकेको थियो । मेरो ज्याकेटदेखि तल स्निकरसम्म हिउँ लटरम्म बसेका थिए । मेरो रूप हिममानवको जस्तो भैसकेको थियो । यस्तो बेला निस्कने हरेकको हाल यस्तै बेहाल हिममानवको जस्तो हुन्छ नै ।
म आफ्नो हिममानव रूप लिएर अपार्टमेन्टको भित्री मूल दैलोमा पुग्दा हिउँ दुई इन्च झरिसकेको थियो । दैलो उघार्नुअघि म उफ्रन थालेँ । यसो गरेपछि शरीरको फुक्लो हिउँ फुरफुर झर्छ । म चारपटक उफ्रें । मेरो शरीरका अधिकांश हिउँ दैलोको रबर म्याटभरि झरेका थिए । र, पग्लँदै थिए । घरभित्र निरन्तर पचहत्तर डिग्री फरेनहाइट तापक्रम कायम हुनेगरी ताप–प्रवाह खोलिएको छ । त्यसकारण मैले यो ढोका खोलुन्जेलसम्म ती हिउँ पानी–पानी भैसकेका थिए । साथमा मेरो शरीरका पोसाकका अटेरी हिउँ–फुल्काहरू पनि पानी बन्दै थिए र, बग्दै थिए । म लामो, न्यानो करिडोर हुँदै आफ्नो अपार्टमेन्ट नम्बर दुईको दैलो खोल्छु । माइलको हिसाबले कम र समयको हिसाबले म दुई घण्टा नै हिँडेको थिएँ । मेरो हिँडाइको माइल घटाउने तीव्र गतिमा उड्दै आँखामा प्रहार गर्न आइपुग्ने ती हिउँ फुल्काहरू नै थिए । गएको बिहीबार थ्याङ्स गिभिङ डे थियो । प्रायःको घरमा सिङ्गो टर्की रोस्ट गरिएको थियो । साथमा मास पोटाटो, स्विट पोटाटोलगायतका अनेक साइड डिस तयार गरिएका थिए । तिनको रेफ्रिजिरेटरभित्रको चिस्यानमा खाइनसिध्याएका बाँकी बचेका त्यस्ता परिकारहरू अझै होलान् । हाम्रो रेफ्रिजिरेटरभित्र पनि अझै टर्कीको सिङ्गो फिलो, छाती, करङ, रोस्टेड केही ड्रम्स स्टिक, सिङ्गै उसिनेको कुरिलो, भेज पुलाउ आदि कतिपय बचेका परिकार राखिएका थिए । थ्याङ्स गिभिङको साँझ छोरा–बुहारी, ज्वाइँ–छोरी, नाति–नातिनाको जमघट थियो । अमेरिका आएको सुरुका केही वर्ष हामीलाई यो खैरे चाड थ्याङ्स गिभिङको मतलब हुँदैनथ्यो । तर, बतासमा निस्केपछि त्यसको स्पर्शबाट जोगिन के सक्नु ! जोगिन घरभित्रै बस्नुपर्छ । त्यो सम्भव छैन । त्यसमाथि थ्याङ्स गिभिङ खानपिन, भेटघाट, कृतज्ञता र भोजभतेरको चाड हो । हामीले खानपिनका त्यस्ता परिकारहरूको साथमा जमेर थ्याङ्स गिभिङ भतेर मनाएका थियौं । खुब रेड वाइन पिएका थियौं । एघार बजेपछि हाम्रो परिवारको थ्याङ्स गिभिङ भोज सकिएको थियो ।
फेरि छोरी, ज्वाइँ, छोराबुहारी बाईबाई गर्दै आ–आफ्नो घर याक्टन र लिटिलटन फर्किएका थिए । ‘ड्राइभ सेफ, ड्राइभ सेफ’ भन्दै हामीहरूले उनीहरूलाई बिदा गरेका थियौं । उनीहरू हिँडेपछि फेरि कोठा सुनसान बनेको थियो । हामी डाइनिङ टेबुलमा बचेका खाने कुराहरू क्रमशः रेफ्रिजेरेटरमा थन्क्याउन थाल्यौं । तीन बोतल रेड वाइन रित्तिएछ । मेरी बूढीको जाँचपड्तालमा बढी पिउने मै ठहरिएँ । यही गल्फल्ती गर्दै हामी निदाएका थियौँ । घर पुगरे छोरा, छोरीले हामी सुरक्षित घर आइपुग्यौँ भन्न फोन गरेका रहेछन् । तर, थकाइ र वाइनको उग्रताले ओछ्यानमा ढलेका हाम्रा लठ्ठिएका कानले तिनको फोन के सुन्थे ? मस्तले निदाएको निदाइ भइएछ ।
बिहान उठेपछि मैले आफ्नो फोनमा तिनले छोडेको भ्वाइस मेसेज सुनेको थिएँ, ‘अराइभ्ड सेफ्ली, गुड नाइट, अराइभ्ड सेफ्ली, गुड नाइट ।’
हिउँले भिजेका लुगा फुकालेर म बाथरुमभित्र पसेँ । सावरहेडबाट झरेको तातो पानीमा मजाले पखालिएँ । हिँडेर आएपछि म प्रायः तातो पानीमा यत्तिकै पखालिने गर्छु । त्यसरी नुहाएर फ्रेस मुडमा म लिभिङ रुममा आएको थिएँ । यसपछि मलाई घरायसी कुरो गर्नु केही थिएन । रेफ्रिजेरेटरमा थ्याङ्स गिभिङका लफ्टेओभर खानाहरू अझै थिए नै । त्यसकारण मलाई पकाउनुपर्ने झन्झटतिर लाग्नुपर्ने थिएन । म सोफामा बसें र टीभी खोलें । तिनले उत्तरपूर्वी अमेरिकी राज्यभर हिम–आँधीको प्रकोपका समाचार फुकिरहेका थिए । विशेषगरी यसको चपेटामा बढी न्युयोर्क पर्दै थियो । न्युयोर्कमा दुई फिट हिउँ पर्नेवाला थियो । हिउँ आतंकको यो समाचार मलाई हेरिरहन मन लागेन । टीभी बन्द गरेँ । किचेन र्‍याकबाट हेनेसी कोन्यागको बोतल झिकें । अन्दाजी डेढ पेग ग्लासमा राखेँ । र, चुस्की लिँदै झ्यालबाहिर हेर्न थालेँ । कोन्यागको रमरम नशामा ल्याम्प पोस्टको प्रकाशमा उडिरहेको ‘स्नो–फ्लेक’ को चमक हेर्नुको आनन्द बेग्लै हुन्छ । म यही मस्तीको रमरम तालमा हिउँका चमेलीहरूको मोहक अवतरण हेरिरहेको थिएँ । यसरी हेर्दाहेर्दै हिउँ र बतासको गति झन् तीव्र रूपमा चल्न थालेको थियो । सडक किनारमा पार्क गरिएका कारहरू हिउँले छोपिइसकेका थिए । ती हिउँको बर्को ओढेर सुतिरहेका झैं देखिन्थे । गुडिरहेका कारहरूको विन्डसिल्डबाहेक तिनको अरू बडी पार्ट हिउँले पूरै छोपिएका थिए । गुडेका सबै कारका वाइपर हिउँ पन्छाउन चलिरहेका थिए । सडकको हिउँ पन्छाउन स्नोप्लो जोडिएका ट्रकहरू हिउँ सोर्दै कुद्दै थिए । तिनको पछिपछि नुन छर्दै अर्को ट्रक कुदिरहेको थियो ।
उज्यालो निख्रिसकेको थियो । लठ्ठाका बत्तीले प्रकाश छर्न थालिसकेका थिए । भर्खर पौने पाँच बजेको थियो । तर, हावभाव रातको हुँदै थियो । आइतबारदेखि हिउँ बीच–बीचमा ब्रेक लिँदै मंगलबारसम्म पर्दै थियो । यो हिसाबले हिउँ धर्तीमा डेढ फुट झर्दै थियो । बिल्कुल आतंकको वातावरण बन्दै थियो । अमेरिकी परिवेशको मेरो पहिलो कथा ‘किवुका’ मा मैले यो हिउँ–आतंक र यसको मोहकताको बयान गरेको छु । त्यसपछि लेखेको मेरा अरू कथामा पनि हिउँको सुखद, दुखद, रोमाञ्चक र सौन्दर्यात्मक चित्रण छन् । हिउँको सौन्दर्यको बयान गर्न, चित्र कोर्न, कविता लेख्न वा निबन्ध लेख्न वा गफ गर्न वा डकुमेन्ट्री बनाउन त मजा हुन्छ । तर, त्यसलाई भोग्नुपर्‍यो भने के हुन्छ !
म सपरिवार सन् २००२ को नोभेम्बर दुईमा बोस्टन आएको थिएँ । त्यसको दस, बाह्र दिनपछि यो मौसमको पहिलो हिमआँधी आएको थियो । टहलिने सिलसिला थियो । म डाउनटाउन बोस्टन गएको थिएँ । मलाई मौसमको खबर थाहा थिएन । अपार्टमेन्टबाट निस्कँदा आकाशमा बादलको धरपकड थियो । वातावरण बिल्कुल धुम्मिएको, गुम्स्सिएको थियो । तर, मलाई यो हिउँ आँधीको गर्भे अवस्था हो भन्ने थाहा थिएन । म एक्लै बेखबर हिँडेको थिएँ । पन्ध्र मिनेटमा म डाउनटाउन क्रसिङको भूतल सबवे स्टेसनमा ओर्लिएको थिएँ । माथि उक्लेर म साइडवाकको दायाँबायाँ अत्यन्त उत्सुक आँखा फैलाउँदै हेर्दै अगाडि बढ्दै थिएँ । बच्चाहरूको आख्यानको चर्चित बाँदर पात्र क्युरियस जर्जझैं अत्यन्त उत्सुक मुडमा थिएँ म । त्यसबेलाको मेरो उमेर उनन्चास वर्षको थियो । तर, मेरो उत्सुकता क्युरियस जर्जको भन्दा कम थिएन । म क्युरियस जर्जको पल्याकपुलुक मुद्रामा अगाडि जाँदै थिएँ । एक छिनमा बायाँतिर अलग संरचनाको एउटा भवन देखियो । त्यसको विशाल दैलोको अलिक माथि साइनबोर्डमा लेखिएको थियो— बार्नेस एन्ड नोबेल । यो देखेपछि म झटपट सडकको दायाँबायाँ हेर्दै सडक क्रस गरेर कर्पोरेट सञ्जालको यो पुस्तक पसलभित्र पस्न पुगेको थिएँ । पस्नासाथ किताबहरूको सामुद्रिक लहर चलिरहेको देख्छु । चारैतिर किताबले भरिएका साना, ठूला, अग्ला, लामा, छोटा र्‍याकहरू देख्छु । एउटा कुनामा म्यागजिन र अखबारहरू प्रदर्शन गरिएको डेस्कहरू देख्छु । सामुन्ने निकै लामो स्कलेटर चलिरहेको देख्छु । त्यसका खुट्किलामा उभिँदै मानिसहरू माथ्लो खण्डमा पुगिरहेको देख्छु । म क्युरियस जर्ज हेर्‍याहेर्‍यै भइरहेको थिएँ ।
म जहाँ उभिएको थिएँ, त्यसको सामुन्ने सात–आठवटा काउन्टर थिए । सबै चालु थिए । हरेक काउन्टरमा ग्राहकहरूको लामा–लामा लाइन थिए । लाइन लाग्नेहरू हरेकको हातहातमा तीन–चार किताब च्यापिएका थिए । क्रमशः ती काउन्टरको क्यासियरकोमा पुग्थे । आफूले किन्न चाहेको सबै किताबको रकम चुक्ता गर्थे । र, झोलामा राखेर क्यासियरले दिएको किताबको झोला बोकेर बाहिर निस्कन्थें । यो निरन्तर चलिरहेको थियो । अर्कोतिर र्‍याकहरूमा त्यत्तिकै संख्यामा मानिसहरू आफूले चाहेका किताब खोज्ने, भेटेपछि निकाल्ने गरिरहेका थिए । म म्यागजिन सेक्सनतिर पुगेको थिएँ । मेरो आँखा ‘हार्डभर्ड रिभ्यु’, ‘पुल्गसायर’, ‘पेरिस रिभ्यु’, ‘टिन हाउस’, ‘थ्रिपेनी रिभ्यु’, ‘याल रिभ्यु’, ‘पोएट्री’, ‘पेन’, ‘न्यु अमेरिकन राइटिङ’, ‘ग्लिमर ट्रेन’, ‘अग्नि’ जस्ता पचासौं साहित्यिक मासिक, त्रैमासिक पिरोडिकलहरूतिर घुमेका थिए । तिनलाई पल्टाएर मैले लगभग दुई घण्टा बिताएको थिएँ । त्यसपछि म स्क्लेटरबाट माथ्लो तला उक्लिएको थिएँ । तलभन्दा माथि झन् धेरै किताबको र्‍याक र कक्षहरू थिए । सबैतिर चाहको किताब खोज्नेहरूको लर्को तलजस्तै थियो । ती र्‍याकमा मैले प्रखर बौद्धिक लेखक सुजन सोनट्याग भेटेको थिएँ । उनको निबन्धसंग्रह एगेंस्ट इन्टरप्रिटेसन भेटेको थिएँ । जेडी स्यालिन्जर भेटेको थिएँ । उसको कथासंग्रह ‘नाइन स्टोरी’ भेटेको थिएँ । लागूऔषध बेचेको आरोपमा बीस वर्षको उमेरमा पाँच वर्ष जेल सजाय भोगेका चिकानो मूलका प्रख्यात जनवादी कवि जिमी स्यान्टियागो बाका भेटेको थिएँ । उसको प्रसिद्ध कवितासंग्रह ‘इमिग्य्रान्ट इन आवर ओन ल्यान्ड’ का थुप्रै कविता पढ्न पाएको थिएँ । चार्ल्स बुकोवस्की भेटेको थिएँ । त्यहाँ उसका उपन्यास र कवितासंग्रहहरू थिए । मैले ती प्रायः सब पल्टाएको थिएँ । मलाई एलेन गिन्सबर्गभन्दा बढी चार्ल्स बुकोवस्की मन पर्छ । बुकोवस्की मलाई गिन्सबर्गभन्दा धेरै उदात्त र मस्तीको लाग्छ । म बार्नेस एन्ड नोबेलभित्र पौने तीन बजे पसेको थिएँ । पुस्तकको यो विश्वमा म घण्टौँ हराएको थिएँ । किताबहरूको एक से एक साहित्यिक चकाचौंधमा डुबेको मलाई घडीको गतिको पत्तै भएन । ‘वी आर क्लोजिङ इन टेन मिनेट’ माइकबाट कुनै स्त्री स्वरले प्रसारण गरेको यो सूचना सुनेपछि म हडबडाएर तल झर्ने स्कलेटरतिर बढेको थिएँ । म बार्नेस एन्ड नोबेलबाट निस्कँदा ९ बज्दै थियो ।
भित्र हुँदा मलाई बाहिर के चलिरहेछ भन्ने बिल्कुल पत्तो थिएन । बाहिर निस्किएर जे देखेँ, त्यसले मलाई चकित पार्‍यो । बाहिरको संसार अर्कै भइसकेछ । हिउँ आकाशबाट ह्वारह्वार्ती झरिरहेको थियो । सडक, साइड वाक, हिउँले पुरिइसकेका थिए । ल्याम्प पोस्टको प्रकाशले हिउँ कुन गतिमा झरिरहेछ भन्ने अनुमान देखाइरहेको थियो । मेरो आँखामा पहिलोपटक हिउँको संसार प्रकट भएको थियो । म रोमाञ्चित हुँदै स्टेसनतिर जाँदै थिएँ । तर, मलाई हिँड्न सजिलो भइरहेको थिएन । मेरो जुत्ता हिउँमा ग्वामग्वाम गाडिइरहेको थियो । खुट्टा लगभग पिन्डुल्लासम्म डुब्थ्यो । रोमाञ्च, सकस, त्रास, भोग्दै म सब–वे स्टेसनमा पुगेको थिएँ । हिउँले सब–वेको नियमितता रोकिएको रहेनछ । धेरै कुर्नुपरेन । पाँच मिनेट बितेपछि चर्को आवाज छोड्दै ट्रेन आइपुग्यो । म पन्ध्र–सोह्र डिब्बा भएको ट्रेनको मध्यभागको डिब्बाभित्र पसेको थिएँ । आउँदाको जस्तो घुइँचो थिएन । प्रायः सबै कामबाट फर्किएका जस्ता देखिन्थे । तिनको अनुहार चिसो र थकित देखिन्थ्यो । ती सब शिरदेखि जुत्तासम्म हिउँको भार बोकेर पसेका थिए । मेरो शरीरको हाल पनि त्यस्तै थियो ।
सब–वे चढेको दस मिनेटमा म केन्डल स्क्वायर स्टेसन ओर्लिएको थिएँ । केन्डल स्टेसन पनि भूमिगत नै थियो । यहाँ झर्ने म एक्लो थिएँ । माथि उक्लेर देखेको हिउँको तमासा अझ चर्को थियो । एकदम आतंकित पार्ने श्वेत दृश्य । न सडक देखिन्थ्यो, न फुटपाथ । सबलाई हिउँले बराबर गरिदिएको थियो । मबाहेक वरिपरि अरू कोही मानिस देखिएनन् । हिउँ आफ्नो चर्को रफ्तारमा बर्सी नै रहेको थियो । कुन बेला रोकिन्छ र कति बर्सन्छ मेरो खबरमा थिएन । तर, हिउँको तत्कालको खबर भने मेरो पत्तोमा आइहाल्यो । अगाडि बढ्न पहिलो कदम हिउँमा के परेको थियो, मेरो खुट्टो हिलोमा झैं घुँडोभन्दा माथिसम्म भास्सियो । त्यसपछि अर्को खुट्टो उचालेँ, त्यो पनि हिउँभित्र त्यत्ति नै गहिराइमा जाक्कियो । म यसरी फुक्लो हिउँभित्र आधाजसो डुब्दै अगाडि बढ्न थालेँ । चारैतिर अग्ला नवनिर्मित भवनहरू थिए । तीमध्ये कतिपय भवन बायोकेमिकल कम्पनीसँग सम्बन्धित, कतिपय व्यापारिक कम्पनीसँग सम्बन्धित, कतिपय सफ्टवेयर र इन्जिनियरिङसँग सम्बन्धित थिए । त्यसपछिका अधिकांश भवन विश्वप्रसिद्ध शैक्षिक संस्थान एमआईटी (म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलजी) सँग सम्बन्धित थिए ।
म एक अज्ञात नवागन्तुक नेपाली ती अधुनातन बिशाल भवनको मुनिमुनि कटीसम्मको हिउँमा डुब्दै अगाडि जाँदै थिएँ । केन्डल स्क्वायरबाट हिँडेर मेरो अपार्टमेन्ट पुग्न १० मिनेट पनि लाग्दैनथ्यो । म क्याम्ब्रिज सहरको युनियन स्ट्रिटमा बस्थेँ । धेरै टाढा थिएन । तर, त्यसरी हिउँ डुबानमा परेको मलाई वान युनियन स्ट्रिटको त्यति नजिकको आफ्नो अपार्टमेन्ट पुग्न तीस मिनेट लागेको थियो । हिउँको यो मेरो पहिलो भोगाइ थियो । त्यसपछि त कतिकति । कोठामा बसेर झरिरहेको हिउँ नियाल्न, घाम लागेको बेला हिउँको सुन्दर परिवेश हेर्न जत्ति मजा हुन्छ, त्योभन्दा निकै चर्को हुन्छ, यसले दिने हैरानी । हिँड्न, बस कुर्न, कार चलाउन, कार पार्किङ गर्न, हिउँ सोहोर्न, पन्छाउन, हिउँमा डुबेको कार निकाल्न, हिउँको रास खनेर आफ्नो कारको पार्किङ स्पट बनाउन, कतिकति कष्टैकष्ट ।
नोट : न्यु ह्याम्पसायर, म्यासाचुसेट (बोस्टन) कनेटिकट, रोड आइजल्यान्ड, मेन, भरमन्ट र न्युयोर्क राज्यलगायतका क्षेत्र यांकी क्षेत्रका रूपमा बुझिन्छ । यो क्षेत्रमा यांकी बस्छन् ।

कोसेली

वेक अप ‘बेबी’ !

फ्लोरिडा, अमेरिकामा जन्मेका जिम मरिसन (सन् १९४३–१९७१) छोटो आयु बाँचेर पनि चिरस्मरणीय बनेका संगीत–साधक हुन् । डिसेम्बर ८ (मरिसनको बर्थ–डे) उनका प्रशंसकका लागि विशेष दिन हो ।
- सरिता तिवारी

रिडिङ योर पोयम्ज । आई नेभर गेस्ड, यु ह्याब रिटन एनी पोइम अबाउट जिम मरिसन !... स्याल्युट !
रातको झन्डै पौने बाह्र बजे । मध्यरातमा कुनै तारा खसेझैं आकस्मिक मेसेज बक्समा खसेका थिए यी शब्द । निद्राको परत जम्न लागेका आँखाको सतह एकाएक जुरुक्क उठ्यो । सुत्ने तर्खरमा जुम्सो भैरहेको मेरो अवचेतनमा रक शैलीमा गुन्जिए आदिम परिचयका प्रिय शब्द ...‘वेक अप !’
प्रतिक्रियामा एउटा विनम्र धन्यवाद पठाएँ । एउटा युगको, सामाजिक र आर्थिक दुवै कोणबाट एउटा अधीर कालखण्डको चेतना बोक्ने सर्जकका नाममा एक चिर्कटो कविता लेखेर मैले कुनै तीर मारेको होइन । यति त मलाई थाहा छ ।
उताबाट प्रशंसा र प्रेमका अरू थप शब्द आए । इमोजी बक्सबाट दुई थान स्माइली तानेर पठाएँ ।
मेरा पाठकले पठाएको त्यो ‘सलाम’ मेरो एउटा लघुकाय कविताका लागि कम तर एउटा महान् स्रष्टाको चिरन्तन स्मरणका लागि ज्यादा हो । कलाको जरुरत र मूल्यको साक्ष्य हो त्यो सलाम । संगीत र साहित्यले मिलौं दूरीहरूका सीमा नाघेर मानवता र सत्यको खोजमा हिँडेका मान्छेहरूबीच गर्ने संवादको पनि साक्ष्य हो
त्यो सलाम ।
यही डिसेम्बर ४ को मध्यरात थियो त्यो । एकपल्ट फेरि सुन्न मन भयो, ‘वेक अप !’ फेरि सुन्न मन भयो, ‘वुमन इन द विन्डो’ । फेरि सुन्न मन भयो ‘द इन्ड’ ,’राइडर्स अन द स्ट्रोम’...! यस्ता शब्द जसका सुन्दरता पनि भयावह छन् । यस्तो संगीत, जसको भयावहता पनि सुन्दर छ । अभिभूत भएँ । दिल दिमागको सुदूर कुनासम्म पुग्ने गरी आनन्दित भएँ । र, धेरै दिनदेखि तन्द्रामा उँघिरहेको आफूभित्रको मान्छेलाई च्याँठ्ठिएर जगाएँ, ‘ओए केटी उठ् ! जस्ट वेक अप !’
कुनै कविताले बीसौं वर्षपछि प्राप्त गरेको ‘नोटिस’ का खास अर्थ हुन्छन् । र, यो डिसेम्बर महिना हो । अनि, त्यही मध्यरातको जाग्रत चिच्याहट नै यो संस्मरणको प्रस्थान हो ।

‘वेक अप’ अमेरिकामा सन् साठीको मध्यमा जन्मिएको रक ब्यान्ड ‘द डोर्स’ को सिग्नेचर गीत हो । दिमागका तारहरू झन्झनाएर एकपल्ट आफ्नै गालामा झापड हनाउने गीत । जुन गीत सुन्नुभन्दा दशकौंअघि त्यसबारे पढेर म प्रभावित भएँ । जुन गीतका शब्दभन्दा अघि भावको व्याख्यामा डुबेर रन्थनिएँ । जुन गीतका गायकको फोटोसम्म नदेख्दै म उनको एक अविचल प्रशंसक भएँ । रोचक कुरा के भने, मात्रै एउटा आलेखले दिएको सीमित सूचनाका भरमा जसका गीतको भाव र संवेदनाले लेख्न प्रेरित गरे मलाई उही श्रष्टामाथिको प्रेमले समर्पित— कविता ।
सप्रसंग— मेरो कवि हैसियतको दोस्रो किताब थियो— अस्तित्वको घोषणापत्र (२०६७) । हैसियत किन भनेको भने, कवि (शब्दकर्मी) हुनु मेरा लागि सत्य खोज्ने, सत्यमार्गी बन्ने असाधारण बाटो रोज्नु हो । ढाँटेर बाँच्न त असंख्य विकल्प छन् । छाती फुकाएर निर्धक्क बोल्न, निडर र आफ्नै विश्वासको मस्त संसारमा बाँच्नका लागि नै म लेख्ने उद्यममा छु । मलाई यस्तो ठान्ने बनाउने तिनै मान्छेहरू हुन् जसले सत्य खोज्नु, भेट्नु र संसारले त्यो थाहा पाउनुको मूल्यमा जिन्दगी गुमाए । जो आत्माको बोली ओकल्नुको प्रतिदानमा दुनियाँबाट अविश्वसनीय त्रासदी र भयावह मृत्युका कथा लिएर बिदा भए ।
म किताबको कुरा गर्दै थिएँ ।
त्यस किताबसँग मेरा धेरै अपेक्षा थिएनन् । तर, प्रकाशनपछि अधिकांशले त्यो किताब रुचाएको प्रतिक्रिया दिए । शब्दको संसारमा खासै नपत्याइएको कविलाई यो अनपेक्षित सुखद खबर थियो । तर, यो संग्रहमार्फत नै मलाई रुचाउन सुरु गरेका कतिपय पाठक (कवि) हरू पछिल्ला दिनमा ‘नियोजित रूपले स्टन्टबाजी गर्न ‘अश्लील’ र क्रूर शब्दसँग खेलिरहेको’ मा, कविताबाट ‘एजेन्डा लेखन’ गर्न थालेकामा मसँग खुबै दुःखी छन् । ती अहिले पनि यदाकदा तिम्रो फलानो किताब नै राम्रो हो भन्दै यो किताबको प्रशंसा गर्छन् ।
उनीहरूले यसो भन्दा म खास प्रतिक्रिया गर्न आवश्यक ठान्दिनँ । अफसोस केमा लाग्छ भने उनीहरू आफूलाई कविताका मर्मज्ञ दाबी गर्छन् तर आज ‘स्टन्ट’ गरिरहेको कविका विगतका कवितामा विद्रोह र विरुद्धको कुनै धूवाँ देख्दैनन् ! प्रतिबद्ध प्रतिरोधको पूर्वाभास भेट्दैनन् । लेखक बन्न हिँडेको एउटा मान्छेभित्र विचारको ‘क्रमिक विकास’ पनि हुँदो हो । त्यति बुझ्न कसैलाई चार्ल्स डार्बिन बन्ने दुःख पनि गर्न नपरिहाल्दो हो । तर, कसैसँग यसरी सोचिदिने फुर्सद र उदारता खोज्ने मूर्खता म गर्दिनँ, कम्तीमा यतिबेला । हरेक रुचि र अरुचि व्यक्तिगत आग्रह र दुराग्रहका विषय मात्रै होइनन्, राजनीतिक पनि हुन् भन्ने अब त म राम्रैसँग बुझ्छु ।
खैर, त्यस किताबभित्र केही व्यक्तिमाथिका कविता पनि छन् ।
ती व्यक्ति जसले कुहिरोभित्र हराइरहेको मेरो युवावयलाई विचारको कोलाजले नयाँ, फरक र धारिलो बनाइदिए । धारणाहरूको अनन्त ‘जिगज्याग’ मा हेलिँदै गरेको मेरो दिमागलाई म आफैंले नसोचेको दिशा दिए । यस्ता व्यक्तिमध्ये जिम मरिसन, अलेन गिन्सवर्ग, अवतार सिंह पाश, पारिजात आदि थिए । मलाई यी स्रष्टामाथि कविता नै लेखिहाल्ने रहर किन जाग्यो ? म जान्दिनँ । त्यसरी लेखिएका सबै कविता ०५६/०५७ सालतिर पोखरा छँदै लेखिएका हुन् । तीमध्ये केही किताबमा छापिए, केही अझै पनि डायरीमै छन् ।

पोखरा । यसको छवि भयावह रूपले सम्मोहक कुनै ‘एब्स्ट्र्याक्ट आर्ट’ जस्तो छ मभित्र । यसले धेरै कुरा दिएको छ मलाई । धेरै थोक चिनाएको छ । केही सुन्दर, मोहक कुराहरू अनि केही गहिरा विषाद पनि ।
र, त्यही ‘एब्स्ट्र्याक्ट’ कथामा कुनै दिन जिम मरिसन उपस्थित भए क्रान्तिकारी आत्मघातीको विम्ब लिएर । मलाई यी दुर्लभकोटी स्रष्टासँग पहिलो साक्षात्कार गराउने व्यक्ति कवि बानिरा गिरी हुन् । विश्वका प्रमुख साहित्य, कला र संगीतमाथि उनको परख कति समृद्ध र सघन थियो भन्ने थाहा पाउन उनका फुटकर लेख नै पर्याप्त लाग्थे । म उनलाई पढ्दा आनन्दित हुन्थें । हिजोआज अल्जाइमर्सको बिमारीले आफ्नै विगत र वर्तमान समेत बिर्सिएर भौतिक रूपले दयनीय भइरहेकी वानीरा गिरी तिनताका सक्रिय स्तम्भकार थिइन् ।
त्यतिबेला म दिदीसँग बस्थेँ । पृथ्वीनारायण क्याम्पसको गेटैनेर दिदीको बुक स्टल थियो । मानविकीको विद्यार्थी म । शब्दको मोह बहुतै थियो । पढ्ने भोक र कविता लेखेर सुनाउने लोभ उस्तै । बुक स्टलमै बित्थ्यो धेरै समय । पत्रपत्रिका खुबै पढिन्थ्यो । अखबारका पानामा जिम मरिसन चित्रले होइन, शब्दमा कुँदिएका बयानले ठोक्किए मसित । वानीरा गिरीका शब्दमा जिम आधुनिक संगीतका कोहिनूर थिए । शक्तिशाली आवाजका जादुगर थिए । जिमका जागरण गीत सुषुप्त अवस्थामा रहेको मान्छेको चेतना जगाउने साइरनजस्ता थिए । उनले ‘द डोर्स’ ब्यान्डको सफलता फ्रन्ट म्यान जिम मरिसनको अद्भुत कलाचेत र अन्तर्मनबाट उद्भूत सत्यको प्रकाशनका कारण सम्भव भएको भन्दै लेखेकी छन्, जिम मरिसन साँच्चै नै ज्ञात र अज्ञातबीचको ढोका बनेर बाँचे...
जस्तो कि जिम आफैं भन्थे–
देअर आर थिङ्स नोन
एन्ड देअर आर थिङ्स अननोन
ह्वाट द सेपरेट्स देम इज द डोर
एन्ड द्याट्स् ह्वाट आई वान्ट टु बी
आई वान्ट टु बी द डोर !
जिमलाई आफूमा आत्मसात् गर्ने यी शब्द साँचेर मात्र बसेँ म । उनलाई सुन्ने, महसुस गर्ने र उनका शब्दको संवेगभित्र एकाकार हुने समय आउन मैले दशक बढी कुर्नुपर्‍यो । उनको जादुयी आवाजको कम्प, उनका भावको शक्ति र संवेदनाको गहिराइमा पुग्ने भौतिक ल्याकत र साधन मसँग थिएनन् । पैसा, ज्ञान, सम्मान र पहुँच वर्गीय मात्रै छैनन्, लैंगिक पनि छन् भन्नका लागि मसँग यस्ता अनुभव धेरै छन् । विवाह र सन्तान जन्मका ‘स्पिडब्रेकर’ हरूकै बीचमा पनि मभित्र जिम र उनीजस्ता अरू थुप्रै मानिस जिउँदै थिए । यो कम अर्थपूर्ण कुरा हो भन्ने मलाई लाग्दैन ।
नियमित तलब थाप्ने जागिर खाएपछि सबैभन्दा पहिले किन्नु थियो मलाई ल्यापटप । त्यो फुर्सदको तलतल मेट्ने केवल एउटा आयताकार वस्तु थिएन मेरा लागि । संसार चिन्ने, संसार भेट्ने ढोका थियो । यही ढोकाबाट छिरेपछि बल्ल मैले जानें, कस्ता थिए जिम ? उनका शब्दले रचेको संसार कस्तो थियो ? उनका गीतले के भन्छन् ?
सन् साठीको दशकको मध्यपछिका वर्षहरूमा कला दुनियाँलाई आक्रामक रूपमा हस्तक्षेप गरेर सत्तरीको दशकको थालनीमै बितिजाने जेम्स डग्लस (जिम) मरिसन उच्चकोटीका साधक थिए । बीसौं शताब्दीका दुर्लभ र दुस्साहसी गायकमध्ये एक थिए । उम्दा गीतकार र कवि थिए । क्लासिकल रक संगीतमा उनले बनाएको स्पेस छुट्टै छ । खास छ ।
चार वर्षको छँदा देखेको भयानक सडक दुर्घटनाको स्मृतिले आजीवन लखेटिएका यिनी स्कुलकालदेखि नै ‘अफबिट’ छात्रमा गनिन्थे । कोलम्बिया विश्वविद्यालयबाट फिल्म अध्ययनमा स्नातक सकाउन्जेल बाईसवर्षे तन्नेरी जिमले आफ्नै पहलमा रे मान्जरेक, रोबी क्रिजर र जोन डेन्समरसँग मिलेर ‘द डोर्स’ नामक सांगीतिक समूहको निर्माण गरे । ज्याज, रक, ब्लुज र लोक सबै किसिमका संगीतको आत्मा छामेका यी चार भाइले जे गाए, जसरी गाए त्यसले साठीको दशक हल्लियो । त्यसको पराकम्प अझै उस्तै छ । आफूलाई उत्पात सभ्य र शिष्ट भनाउने मानिसहरूलाई जिमहरूले गाएका गीत अश्लील र छाडा पनि लाग्न सक्छन् । कसैलाई यस्तो लाग्नै हुन्न भन्ने पनि होइन । तर, कुरा के भने उनीहरूले जसरी समयको जटिल यथार्थलाई अति मिहिन र मूर्त ध्वनि दिएर छोडेका छन् त्यसको गहिराइ र फैलाइ ठम्याउन तिनका एक एक शब्द ध्यानस्थ सुन्ने धैर्य र उदारता चाहिन्छ । उनीहरूले बाँचेको युगका संकट चिन्ने दृष्टि चाहिन्छ ।
युद्धोपरान्त विश्वका आर्थिक, सामाजिक संकट, शीतयुद्धका सांस्कृतिक उत्तरदान र भियतनाममा पोखिएको अमेरिकी युद्धोन्मादको आलोचना, प्रेम र मानवताको रक्षा गर्ने अपिल अनि भयावह आगतको चिन्ता ‘द डोर्स’ का गीतहरूमा भेटिने मूल कथ्य हो । एकल धार्मिक, एकल जातीय राष्ट्रवाद र नश्लीय एकत्ववादको विष फैलिरहेको वर्तमान समयमा द डोर्सका गीतहरू झनै प्रासंगिक छन् । ‘वेक अप’, ‘द इन्ड’, ‘वुमन इन द विन्डो’, ‘राइडर्स अन द स्ट्रोम’, ‘एल. ए. वुमन’ लगायतका गीत यसकारण कालजयी छन् । यीमध्ये प्रायः गीत जिम रचित हुन् ।
जिमका सुरुआती आदर्श थिए अस्तित्ववादी विचारक नित्से । पछि आर्थर रिम्बाउन्ड, फ्रान्ज काफ्का, बाल्जाक, ज्याक केरुवाक, अलेन गिन्सवर्ग इत्यादिको मिश्रित प्रभावले यिनका रचना मिथक, इतिहास, वर्तमानका त्रासदी र भयकारी भविष्यकथनले भरिएका छन् । आलोचकहरू यिनलाई सपना र दुस्वप्नका अभूतपूर्व गायक मान्छन् ।
सन् १९४३ को डिसेम्बर ८ मा अमेरिकामा जन्मेका जिम जम्मा सत्ताईस वर्ष बाँचेर १९७१ जुलाईमा बिते । यति छोटो जिन्दगीलाई आउँदा अनेकौं पुस्ताका लागि लोमहर्षक बनाएर छोडेका यिनी गतिशील स्वप्नदर्शी र उदात्त दुनियाँका परिकल्पनाकार थिए । अफसोस नै भन्नुपर्छ, उनको अति सिर्जनशील र रहरलाग्दो उमेरलाई अल्कोहल र ड्रग्सको भयंकर कीराले निलेर खाइदियो । व्यक्तिगत जीवनका कठोर उहापोहले दिएको मानसिक तनाव, अलगाव र एक्लोपनले दुर्व्यसनको उत्कर्षमा पुर्‍याएर उनलाई आत्मघात गर्ने अवस्थामा पुर्‍याइदियो ।
धर्तीमा जिम मरिसनजस्ता अनेक स्रष्टा आए र गए । तिनले उच्च सिर्जनशील तर भयावह सकसको जिन्दगी बाँचे । सत्य खोज्ने तिर्खाले तिनलाई आत्महन्तासमेत बनाइदियो । यो दुःखद कुरा हो । यति ठूलो संसार उनीहरूजस्ता मान्छेका लागि किन यतिविधि साँघुरो हुन्छ ? तिनले कल्पना गरेजस्तो फराकिलो दुनियाँ बनाउने सामर्थ्य छ हामीसँग ?
जस्तो कि, ‘द इन्ड’ मा भनिएको छ–
के तिमी अनुमान गर्न सक्छौ यति धेरै स्वतन्त्र र अनन्त
कुनै अपरिचितको दुस्साहसिक खोज...

जिमहरूले छोडेर गएका प्रेम, घृणा, आक्रोश र जागरणका लय छन् हामीसँग । अवचेतनमा सुषुप्त बसेर ती मध्यरातमै पनि जुरुक्क ब्युँझाउन आउँछन् । चरम अकर्मक भावले निदाउरो भएको बेला च्याँट्ठिएर बोलाउँछन्, ओई उठ्....!
जस्ट वेक अप...बेबी !

Page 21
Page 22
कोसेली

उथलपुथलको इतिवृत्त

संकटको वर्तमान अवस्थाले भविष्यमा उथलपुथल निम्त्याउन सक्‍ने सम्भावनातर्फ डायमन्डले ‘अपहिभल’ पुस्तकमा चासो व्यक्त गरेका छन् ।
- राम लोहनी

डायमन्ड र उनका कृति
ज्यारिड डायमन्डका किताबहरू अन्तर्राष्ट्रिय ‘बेस्ट सेलर’ मा पर्छन् । सामान्य शरीरविज्ञानमा विज्ञता हासिल गरेका डायमन्ड बिस्तारै विकासवादतिर आकर्षित भए । पछिल्लो समय डायमन्डको चासो भूगोल, समाज र मानव सभ्यताको अध्ययनमा आइपुगेको छ । भर्खरै प्रकाशित डायमन्डको कृति हो— ‘अपहिभल’ अर्थात् ‘उथलपुथल’ । डायमन्डले अघिल्ला किताबमा प्रस्तुत गरेको विचारकै निरन्तरता हो यो किताब पनि । यसमा डायमन्ड राज्यमाथि आइपरेको संकट (क्राइसिस) लाई त्यहाँका सरकार र जनताले सम्बोधन गर्ने रणनीतिको विश्लेषण गर्छन् । उनका अनुसार, राज्यले बेहोर्ने संकट व्यक्तिको निजी जिन्दगीमा आइपर्ने संकटकै अर्को रूप हो । संकट अवसर पनि हो रूपान्तर हुने र अग्रगामी छलाङ मार्ने । उचित प्रकारले संकटको व्यवस्थापन गर्ने व्यक्ति सफल भएजस्तै राष्ट्रिय संकटलाई बुद्धिमत्तापूर्ण तरिकाले सम्हाल्ने राज्य पनि सफल हुन्छ र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने तर्कलाई डाइमन्डले जोड दिएका छन् ।

संकटको इतिवृत्त
डायमन्ड संकटका तीन प्रकारका स्रोतको चर्चा गर्छन्— बाह्य, आन्तरिक र ऐतिहासिक । बाह्य मुलुकले गरेको आक्रमण वा नाकाबन्दी वा यस्तै कारण बाह्य कारण हुन् । मुलुकभित्रको गृहयुद्ध, राजनीतिक द्वन्द्व आदि आन्तरिक कारण हुन् । एकपछि अर्को गर्दै घट्दै गएका घटनाहरूले पैदा गरेको सञ्चित दबाबको बिस्फोटबाट पनि संकट निम्तिन्छ । डायमन्ड यस्तो संकटलाई ऐतिहासिक कारणबाट पैदा भएको संकट मान्छन् । पुस्तकको पहिलो खण्डमा व्यक्तिगत संकटको चर्चा गरिएको छ । दोस्रो खण्डमा छवटा देशले बेहोरेका संकटको इतिवृत्त छ । तेस्रो खण्डमा समकालीन विश्वले बेहोरिरहेको संकट, त्यसले निम्त्याउने परिस्थिति र त्यसको सम्बोधनको उपायहरूको विश्लेषण गरिएको छ । डायमन्डले छनोट गरेका देशहरू फिनल्यान्ड, जापान, चिली, इन्डोनेसिया, जर्मनी, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका हुन् । संयुक्त राज्य अमेरिकाको चर्चा समकालीन संकटको सन्दर्भमा गरिएको छ । फिनल्यान्ड र जापान बाह्य कारणले संकटमा परेका थिए । फिनल्यान्ड १९३९ मा तत्कालीन सोभियत संघको आक्रमण र त्यसपछिको विश्वयुद्धको चपेटामा परेको थियो । १८५३ मा एक अमेरिकी जहाजले आफ्नो बन्दरगाहमा जबर्जस्ती लंगर बाँधेपछि जापानको संकट सुरु भयो । संसारबाट लगभग अछुतो रहेको जापानमा अमेरिकी हस्तक्षेपले उथलपुथल नै ल्याइदियो । चिली र इन्डोनेसिया आन्तरिक राजनीतिको कारण घोर संकटमा फसेका थिए । १९७३ को सेप्टेम्बर ११ को दिन सेनाले विद्रोह गरेपछि चिली संकट प‍र्‍यो । संकटले चिलीमा अगस्टो पिनोचे नेतृत्वको निरंकुश शासनको उदय गरायो । इन्डोनेसियाको संकट १९६५ को कम्युनिस्ट विद्रोह, सात जना सेनाका जनरलको हत्या र सुहार्तोको उदयसँग जोडिएको छ । उक्त विद्रोहले इन्डोनेसियामा सुकार्नो युगको अन्त गरिदियो र चिलीमा जस्तै निरंकुशता सुरु भयो । पिनोचेको चिली र सुहार्तोको इन्डोनेसियामा विरोधी राजनीतिको नाममा लाखौं मान्छे मारिए, भ्रष्टाचार उत्कर्षमा पुग्यो, मुलुकको विकास लगभग अवरुद्ध भयो ।
जर्मनीको संकट दोस्रो विश्वयुद्धमा भएको पराजयसँगै उत्कर्षमा पुग्यो । जर्मनी तहसनहस मात्र भएन, पूर्वी र पश्चिमी गरेर दुई देशमा विभाजन पनि भयो । जर्मनी विश्वयुद्धमा होमिनुमा केही ऐतिहासिक तथ्यहरूले भूमिका खेलेको थियो । उन्नाईसौं शताब्दीसम्म जर्मनी युरोपको कमजोर राष्ट्र थियो । बिस्मार्कले जर्मनीको एकीकरण गरेपछि र १८७१ मा फ्रान्सलाई पराजित गरेपछि जर्मनी शक्तिको उदय भएको हो । फ्रान्स, स्पेन, पोर्चुगल, हल्यान्ड, बेलायतको जस्तो जर्मनीको उपनिवेश थिएन । यही क्रममा प्रथम विश्वयुद्धमार्फत जर्मनी अन्तर्राष्ट्रिय शक्ति राजनीतिमा प्रवेश गर्‍यो । महायुद्धमा जर्मनीको पराजय भयो । महायुद्धपछि गरिएको सन्धि र थोपरिएको आर्थिक दायित्वले हिट्लरको नश्लवादलाई प्रेरित गर्‍यो । जर्मनीको जस्तै अस्ट्रेलियाको संकटको पनि ऐतिहासिक आधार थियो । अस्ट्रेलियाको राजनीति एक प्रकारले भन्दा बेलायतको जिम्मामा थियो । पहिलो विश्वयुद्धमा अस्ट्रेलिया संलग्‍न त थिएन तर बेलायतको सहयोगको खातिर सेनाको स्वयंसेवक दस्ता भने पठाएको थियो । टर्कीको ग्यालिपोली प्रायद्वीपमा बेलायती नेतृत्वमा उत्रेको यो दस्ताको अप्रिल २५, १९१५ का दिन व्यापक संहार भयो । बेलायती सेनापतिको अस्ट्रेलियालीप्रतिको अनुत्तरदायी नेतृत्वको कारण यो संहार भएको थियो । दोस्रो विश्वयुद्धमा सुदूरपूर्व र अस्ट्रेलियाको सुरक्षाको जिम्मा लिएको बेलायती जंगी जहाजलाई जापानले डुबाइदिएपछि बेलायतले अस्ट्रेलियाको सुरक्षा जिम्मा लिन सकेन । लगत्तै सिंगापुरमा बेलायती सेनाले जापानसमक्ष आत्मसमर्पण ग‍र्‍यो । यो आत्मसमर्पणमा तीन दिनअघि मात्र पुगेका दुई हजार अस्ट्रेलियाली सेना पनि प‍र्‍यो । बेलायतको छत्रछायामा बसिरहेको अस्ट्रेलियालाई आफ्नै खुट्टामा उभिनुपर्ने स्थिति आइप‍र्‍यो ।



१२ बुँदे संकट व्यवस्थापन
डायमन्डले संकट समाधानका १२ वटा तत्त्वहरूको चर्चा गरेका छन् । उनका अनुसार, व्यक्तिगत तथा राष्ट्रिय दुवै तहमा यी तत्त्वहरूको चरित्र लगभग उही हुन्छ । ती तत्त्वहरू यसप्रकार छन् ः
१. संकटमा परेको स्वीकारोक्ति । व्यक्तिको हकमा यो स्वीकारोक्तिको घोषणा सजिलो हुन्छ । तर, राष्ट्रको हकमा जनता र सरकारको सहमति हुनुपर्ने हुँदा प्रक्रिया केही फरक भए पनि स्वीकारोक्तिचाहिँ हुनैपर्छ । संकटमा परेको स्वीकार गरेपछि मात्र समाधानका उपायबारे प्रयास हुन सक्छ ।
२. व्यक्ति वा राज्य दुवैले संकटबाट मुक्त गर्ने दायित्व आफ्नै भएको स्विकार्नु जरुरी हुन्छ । जुनसुकै कारणले संकटमा परेको भए पनि संकटको भोक्ता आफैँ भएको हुँदा त्यसबाट मुक्त हुन पहिलो प्रयास आफैँले गर्नुपर्छ, अरूले होइन ।
३. संकटसँग जोडिएको वास्तविक समस्याको पहिचान अर्को आवश्यकता हो । संकट भनेको समस्याहरूको गुजुल्टो हो । गुजुल्टोमा बेरिएर रहेका समस्याको पहिचान भएपछि मात्र समाधानका प्रयास कामयाबी हुन सक्छ ।
४. समस्याको प्रबलताको पहिचान । समस्याको पहिचान भएपछि त्यो कत्तिको प्रबल छ भन्ने थाहा पाउनु जरुरी हुन्छ । समस्याको प्रबलता हेरेर व्यक्ति वा राज्यले त्यसको समाधान आफ्नो क्षमताभित्र भए/नभएको निर्क्योल गर्न र सल्लाह, सहयोगको लागि आह्वान गर्न सक्छ ।
५. अर्काको अनुभवबाट शिक्षा । त्यस्तै समस्यासँग जुधेका र त्यसबाट पार भएका व्यक्ति र राज्यले संकटमा परेका व्यक्ति र राज्यलाई मोडेलको काम गर्न सक्छ ।
६. व्यक्ति वा राष्ट्र दुबैमा दबाब थाम्‍न सक्‍ने र प्रतिकूल परिस्थिति थेग्‍न सक्‍ने ताकत अन्तर्निहित हुन्छ । त्यो उनीहरूको अहम्, आफ्नोपन र सहनशीलताको सीमा हो । अहम् र आफ्नोपनको ताकतको प्रस्ट पहिचान हुनु आवश्यक हुन्छ । यसले संकटको गुजुल्टोमा बेरिएका सहन सकिने र नसकिने समस्याहरू पर्गेल्न सजिलो तुल्याउँछ ।
७. सहनशीलताको सीमा र ताकत पहिचानका लागि इमानदार आत्ममूल्यांकन हुनु आवश्यक छ । व्यक्ति वा राज्य दुवैको सीमा हुन्छ । ताकतको वस्तुगत मूल्यांकनले आत्मविश्वासलाई दृढ बनाउँछ ।
८. इतिहासबाट शिक्षा । त्यसभन्दा अघि बेहोरेका संकटको अनुभव वर्तमान संकटमा उपयोगी हुन्छ ।
९. अर्को तत्त्व हो धैर्य । समाधान प्रयासमा अनिश्चितता, असफलता पैदा हुन सक्छ । तर, त्यसबाट हतास नभै प्रयास जारी राख्‍नुपर्छ, भाग्‍नु हुँदैन ।
१०. लचकता । हरसंकटले परिवर्तनको सम्भावनालाई बोकेको हुन्छ । त्यो एउटा अवसर पनि हो । त्यसैले सकारात्मक परिवर्तनको लागि तयार हुनु आवश्यक हुन्छ ।
११. केन्द्रीय मूल्यको पहिचान । व्यक्ति र राज्य दुवैको आफ्नोपन र निजत्वसँग सम्बन्धित केही केन्द्रीय तत्त्वहरू हुन्छन् । केन्द्रीय तत्त्वलाई सकेसम्म अक्षुण्ण राख्‍ने प्रवल चाहना हुन्छ । जोगाउनुपर्ने केन्द्रीय मूल्यसँग सम्बन्धित तत्त्वहरू पहिचान भएपछि परिधीय तत्त्वमा परिवर्तन गर्न सजिलो हुन्छ ।
१२. कुनै पनि कुरा हुनैपर्छ भन्ने आत्मदबाबबाट मुक्त भएर विवेकले देखाएको र तर्कसंकत बाटो अपनाउनुपर्छ । असंगत र आफैँले सिर्जना गरेको कृत्रिम अवरोधले बाटो अवरुद्ध मात्र गर्छ ।
डायमन्डले पुस्तकमा यी हरेक बुँदाको महत्त्व र भूमिकालाई क्रमशः चर्चा गरेका छन् । व्यक्तिगत संकटको कुरा गर्दा पटकपटक आफैँलाई उदाहरणको रूपमा उभ्याएका छन् । विद्यावारिधि अनुसन्धानमा प्रारम्भमा पाएको असफलताले निम्त्याएको मानसिक संकट, पेसागत क्षेत्र परिवर्तन गर्दाको संकट र पहिली पत्‍नीसँग सम्बन्धविच्छेद गर्दाका अनुभवलाई पाठकहरूमाझ बाँडेका छन् । उल्लिखित छवटा राष्ट्रले संकटबाट मुक्त हुन अपनाएका रणनीतिहरूलाई पनि यिनै १२ बुँदाभित्र रहेर प्रस्ट पारेका छन् । संकटले यिनीहरूलाई कहाँ पुर्‍यायो, संकट समाधानका प्रयास सही सावित भए, भएनन् भन्नेजस्ता मूल्यांकनमा पनि लेखकले पर्याप्त ध्यान दिएका छन् ।

संकटको वर्तमान अवस्था
संकटको वर्तमान अवस्थाले भविष्यमा उथलपुथल निम्त्याउन सक्‍ने सम्भावनातर्फ डायमन्डले पुस्तकको तेस्रो खण्डमा चासो व्यक्त गरेका छन् । वर्तमान संकट विशेषगरेर शक्तिशाली र धनी राष्ट्रसँग जोडिएका छन् । डायमन्ड यो मामिलामा जापान र खासगरेर संयुक्त राज्य अमेरिकालाई जोडेर चर्चा गर्छन् । वर्तमान संकट र सम्भावित भावी उथलपुथललाई पनि माथि उल्लिखित १२ बुँदाको आलोकमा हेरिएको छ । आर्थिक समृद्धिको साथमा बढ्दो ऋण, घट्दो जनसंख्या, पाका एवं वृद्धहरूको बढ्दो संख्या जापानको वर्तमान समस्या हुन् । डायमन्ड उथलपुथल आउनुअघि नै त्यसबाट बच्‍न उचित कदम चाल्नुपर्ने सुझाव दिन्छन् । पश्चिमी देशले जस्तो जापानले आप्रवासीहरूलाई कहिल्यै रुचाएन । डायमन्ड जापानले अब यो नीति त्याग्‍नुपर्ने सल्लाह दिन्छन् । जापानको भावी ऊर्जा तथा उत्पादन संकटको समाधानको लागि नवीकरणीय ऊर्जा र नवीकरणीय उत्पादनतर्फ जोड दिनुपर्ने उनको सुझाव छ ।
अमेरिकाको हकमा अमेरिकी समाज, अमेरिकी राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा संकट बिस्तारै प्रकट हुँदै गएकोतर्फ लेखकले संकेत गरेका छन् । अमेरिकाको ताकत भनेको यसको भूगोल, क्षेत्रफल, प्रविधि, प्रजातन्त्र र आर्थिक अवस्था हो । विश्वको शक्तिशाली राष्ट्र भएकाले यसका थप दायित्व पनि छन् । अमेरिकामा सामाजिक–आर्थिक गतिविधि अन्यत्रको दाँजोमा एकदमै तीव्र छ । आप्रवासको माध्यमबाट संसारभरिका क्षमतावान मानिसहरू अमेरिका पुगेका छन् । डायमन्ड यसलाई अमेरिकाको ठूलो सम्पत्ति मान्छन् । अमेरिकाको समस्याको रूपमा डायमन्डले राजनीतिक ध्रुवीकरण, अमेरिकी चुनाव, बढ्दो असमानता आदिलाई देखाएका छन् । कर तिरेर दर्ता गर्नुपर्ने प्रावधानले सबै अमेरिकीलाई मतदानमा सहभागी गराउन नसकेकको तर्फ डायमन्डले ध्यानाकर्षण गराएका छन् । मतदानजस्तो प्रजातान्त्रिक अभ्यासबाट ठूलो संख्याका अमेरिकीहरू वञ्चित हुनु अमेरिकी प्रजातन्त्रकै उपहास हो । अन्य देशको अनुभवबाट सिक्‍न नखोज्‍नुलाई डायमन्ड चिन्ताको विषय मान्छन् । अमेरिकासँगै सिंगो विश्व जलवायु परिवर्तन, ऊर्जा संकट र धनी र गरिबबीचको बढ्दो अन्तरको चपेटामा पर्दै गइरहेको छ । आसन्न यी संकटलाई पनि माथि चर्चा गरिएका १२ बुँदाभित्रैबाट सम्वोधन गर्न सकिने डायमन्डको दाबी रहेको छ ।

निष्कर्ष
डायमन्डको लेखनमा भाषिक सरलता पाइन्छ । गैर–आख्यान र जटिल विषयलाई सरलीकृत तुल्याउने न्यारेसन शैली डायमन्डको लेखकीय हस्ताक्षर हो । उनका किताब एउटा खास मुद्दामा केन्द्रित हुने गर्छन् । उदाहरणबाट मुद्दालाई प्रस्ट पार्ने, त्यसपछि आफ्नो प्रस्तावना प्रस्तुत गर्ने र त्यसको विस्तृत विवेचना गर्ने उनको शैलीले पाठकलाई बाँधिराख्‍ने क्षमता राख्छ । अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको समकालीन विश्व राजनीति, राष्ट्रिय राजनीति र व्यक्तिगत जीवनलाई एउटै चस्माले हेर्न र बुझ्‍न खोज्‍नु यो पुस्तकको ताकत हो । डायमन्डका अघिल्ला किताबजस्तै ‘अपहिभल’ को पठन पनि आकर्षक हुने निश्चित छ ।

कोसेली

रैथाने कविता

कवि सुन्दर कुरूपको काव्यिक आधारभूमि उनले बाँचिरहेको समय र परिवेश हो । ‘पृथ्वीको आविष्कार’ का अधिकांश कविता गाउँका छन्, जो अर्गानिक छन्, रैथाने स्वादका छन् ।
- प्रकाश थाम्सुहाङ

इलामको दक्षिणी भेग र दमकको माथितिर अवस्थित छ— चुलाचुली गाउँ । गाउँको शिरमा ध्यानस्थ योगीझैँ लाग्ने स–साना पहाड छन् । तल्तिर छ, समथर मैदान । गाउँको धमनीझैँ लाग्ने खहरेहरू त्यही मैदान भएर बग्छन्, जहाँ पानी कम गाउँलेको पसिना ज्यादा बग्छ । सम्भवतः त्यही पसिनाले चुलाचुलीको सभ्यता निर्माण भएको हुनुपर्छ । भनिन्छ— प्रकृतिले संस्कृति निर्माण गर्छ । त्यसकारण प्रकृतिअनुसार, यहाँको संस्कृति निर्माण भएको छ । त्यो जीवन्त लाग्छ । यही जीवन्त संस्कृतिमा रम्दै चुपचाप साधनारत एउटा कवि छन्, जो हल्लाभन्दा पर सिर्जनात्मक बाँचिरहेछन् । ती कवि हुन्— सुन्दर कुरूप । हालै उनको कवितासङ्ग्रह प्रकाशित छ– पृथ्वीको आविष्कार ।
कुनै पनि कविलाई रचना प्रक्रियाका लागि एउटा निश्चित आधारभूमि भयो भने उम्दा सिर्जना आविष्कार हुने सम्भावना प्रबल हुँदोरहेछ । त्यो आधारभूमि कविले बाँचिरहेको समय र परिवेश पनि हुन सक्दो रहेछ । मात्र त्यहाँ कविको तिख्खर चेत, चिन्तन, कल्पनाशीलता र अभिव्यक्ति कौशल चाहिँदोरहेछ । कवि सुन्दर कुरूपको काव्यिक आधारभूमि उनले बाँचिरहेको समय र परिवेश हो । तर्सथ, पृथ्वीको आविष्कारभित्रका अधिकांश कविताहरू गाउँका कविता छन् । जो अर्गानिक छन् । रैथाने स्वादका छन् ।
गाउँसँग आख्यानको पेन्डोरा हुन्छ । गाउँको सन्दुकहरूमा, गोरेटोहरूमा, धानको सुगन्ध बोकेर बहने बतासहरूमा कथा हुन्छ । ती कथाहरू कवितामा कलात्मक आयो भने ओजपूर्ण सुनिदो रहेछ । कवि सुन्दर कुरूपको काव्यिक प्रवृत्ति कवितामा आख्यान आउनु हो । नेपाली कविताको इतिहासमा पनि आख्यान कहने कलात्मक कविताहरू नै मानक र लोकप्रिय भएका छन् । कवितामा प्रयुक्त कथाहरू पाठकलाई आफ्नैजस्तो लाग्यो भने कविताको सार्थकता त्यहाँ भेटिँदो रहेछ । फेरि आफ्नै भाषा निर्माण गर्न सफल कवि नै अब्बल दृष्टिगोचर हुँदोरहेछ । कवि भीडमा पनि निजत्वसहित उभिन सक्दोरहेछ । सौन्दर्यचेत कविलाई विशिष्टीकरण गर्ने अर्को अस्त्र रहेछ । यहाँ मननयोग्य कुरा के छ भने सौन्दर्यचेतलाई विचारले निर्देश गरिरहेको हुन्छ । कविको विचार सामाजिक न्यायको बर्खिलापमा छ भने सौन्दर्यचेत कुरूप देखिने सम्भावना सदैव रहन्छ । तसर्थ, कविताको टुलमा सौन्दर्यचेत सबैभन्दा महत्त्वपूर्ण विषय हो लाग्छ । हामी नेपाली कविताको सौन्दर्यशास्त्र निर्माणकै क्रममा छौँ । यहाँ कवि सुन्दर कुरूपको सौन्दर्यचेतलाई केहीथरी आलोचकले साम्प्रदायिक बिल्ला भिराइदिने जोखिम उत्तिकै छ । किनभने उनका कविताले तमाम विभेदविरुद्घ आवाज मुखरित गरेको छ । कविता लेख्नु आफैंमा राजनीति हो भने सुन्दरले शालीन राजनीति गरेका छन् । यो राजनीति भुइँमान्छेको लागि हो, जो गाउँमा बस्छन् र उनीहरूको आवाज सम्बन्धित ठाउँमा पुग्दैन । यो राजनीति लालमाया धिमालहरूका लागि हो, जो जीविकाका लागि गिट्टी कुट्छन् र शासकीय घामको न्यानोबाट सदैव वञ्चित छन् ।
जम्मा ३७ थान कविताको सङ्ग्रह हो— पृथ्वीको आविष्कार । यी कविता विविध विषयमाथि बोल्छन् । प्रेम, मानवीय संवेदना, पहिचान, श्रमजीवीको चूडान्त कथा, विभेदकारी सत्ताविरुद्घ शालीन विद्रोह यी कविताका कन्टेन्ट हुन् । शीर्ष कविता ‘पृथ्वीको आविष्कार’ भूतपूर्व प्रेमिकाको लागि कविले आविष्कार गरेको सुन्दर प्रेमोपहार हो । जहाँ कवि मन बोल्छ— माफ पाऊँ है सोल्टिनी !
म त हजुरको याद सिरानी लगाएर यसरी निदाएछु कि बिउँझिँदा निकै बूढो भइसकेको थिएँ ।
यसो गम्छु— उताको पाब्लो नेरुदादेखि यताका सुन्दर कुरूपसम्म आइपुग्दा यो पृथ्वीमा लाखौँ प्रेम कविता लेखियो होला । तर, पनि प्रेम कविताले पाठकलाई दिक्क किन नलागेको होला ? कविलाई पनि प्रेममाथि नलेखौँ किन नलागेको होला ? अब त पुग्योजस्तो किन नलागेको होला ? यसको जवाफ निजत्वमा पाउँछु । अभिव्यक्तिकलाको पृथक्पनमा पाउँछु । प्रेमानुभूतिको वेगलपनमा पाउँछु । सम्भवतः यसैकारण शिल्प पुगेका प्रत्येक प्रेमकविताहरू पढ्दा पाठकले नौलो अनुभूति गर्छन् । संग्रहमा अर्को उम्दा प्रेम कविता छ— सोल्टिनी साइँली । यो कविताले किशोरवयको प्रेमलाई उजागर गरेको छ । यो कविता सांस्कृतिक अन्तरघुलनको पक्षमा पनि छ । कवि सुन्दर कुरूपको प्रेम कविता बलशाली हुनुमा उनले प्रयोग गरेको भर्जिन विम्ब हो लाग्छ । नयाँ विम्ब आविष्कार गर्न पनि कला चाहिन्छ । यो मानेमा कवि सुन्दर कुरूप सार्थक देखिन्छन् । नत्र हामीकहाँ प्रेम कविता लेख्न जोखिम मोल्नुपर्छ । नेपालमा यस्ता केही लभजिहादीहरू छन् कि उनीहरूलाई लाग्छ, प्रेम कविताले अन्ततोगत्वा शाषकको पक्षपोषण गर्छ । प्रेमले मुख्य मुद्दाबाट भड्काएर मानिसलाई निकम्मा बनाउँछ भन्ने उनीहरूमा सोच छ । तर, ‘जनयुद्घ’ मा हेरौँ त ? कसरी छापामारहरूले नारायणगोपालको प्रेमगीत सुन्दै हिँडे ! प्रेमको मनोवैज्ञानिक सत्यलाई अनदेखा गर्न अब मिल्दैन । तर, यति हो प्रेम कवितामा अभिव्यक्तिकला र दृष्टिकोण पृथक् भएर चाहिँ आउनुपर्‍यो ।
‘पृथ्वीको आविष्कार’ मा शब्दको महाजाल छैन । कविता छोटा तर बुलन्द छन् । कविको भाषा पाठकमा प्रसार हुन खासै जद्दोजेहाद पर्दैन । कवि सुन्दर कुरूपमाथि अर्का कवि स्वप्निल स्मृतिको टिप्पणी यहाँ उल्लेख योग्य छ । उनी भन्छन्, ‘सत्ताइतर रैथाने विम्ब, सांस्कृतिक प्रतीक र मिथ अनि आफ्नै घुर्यानको भाषा टिपेर विराट विश्वदृष्टिकोणसहित कवितालाई कलात्मक उचाइ दिने कवि हुन् सुन्दर कुरूप ।’
गाउँ जो सहरनजिक छ, अहिले संक्रमणमा छ । यहाँका मानिस प्रकृति र प्रविधिको विचित्र दुनियाँमा निमग्न छन् । भूमण्डलीकरण र सांस्कृतिक उपनिवेशवाद सडकमार्ग हुँदै गाउँमा छिर्ने क्रममा छ । खाजामा चाउचाउ संस्कृति भित्रिएको एक जुग बितिसक्यो । मानिसको हातहातमा मोबाइल छ । मोबाइल के छ, पूरै विश्व हातमा छ । यस्तो संक्रमणकालीन समयमा कविले रैथानेपनमा झुकाव राख्नु महत्त्वको विषय हो । पृथ्वीको आविष्कार प्रचलित महान मिथक राखेर कवितालाई भव्यता दिन खोज्ने कविहरूको लागि पनि नमुना बनेको छ । कविता खोज्न उनी टाढा गएनन् । विश्वका दर्शन पल्टाएनन् । आफ्नै पेरिफेरिकै बोजु, आमा, बुबा, जिग्री लुङ्गा आदि माथि कविता खोजे । संग्रहमा एउटा कविता छ— आमा र आमाका साथीहरू । छोटो तर सम्पूर्ण कविता हो यो । विम्बको सटीक प्रयोग र भावपक्षको गहिराइले यो कविता पठनीय बनेको छ । हाम्रा आमाहरूको जीवनमा दुःखको निरन्तरता छ, कविताले व्यक्त गरेको चोटिलो विचार हो यो ।
कला कलाका लागि कि विचारका लागि माथि बहस हुन थालेको पनि सत्तेजुग बितिसक्यो । तर हाम्रोजस्तो विभेदको फेहरिस्त लामै भएको समाजमा कला कलाका लागि भन्ने विचार अनुपयुक्त हुँदोरहेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने कला हाम्रो आवश्यकता हो लाग्छ । पृथ्वीको आविष्कारभित्र पनि कविले सामाजिक उत्तरदायित्व बोध गर्दै कविताहरू लेखेका छन् । जस्तो एउटा कविता छ— नाच । नेपाली राजनीतिले कसरी भुइँमान्छेलाई कठपुतली बनाइरहेछ यो कविताले इंगित गरेको छ । अनेकौं आन्दोलन र उत्सर्गपश्चात् प्राप्त भएको नयाँ शासन व्यस्थामा पनि ती भुइँमान्छेहरू शाषकको स्वागत र मनोरञ्जनका लागि नाच देखाउन अभिशप्त छन्, कविताले बोल्छ । यो कविता कविको राजनीतिक जागरुकता पनि हो । जहाँ कविले राजनीतिक स्खलनप्रति ठाडो प्रतिवाद नगरी एउटा पात्रमार्फत कलात्मक प्रहार गरेका छन् । सम्भवतः शब्दको शक्ति यसरी नै प्रभावकारी भइदिन्छ होला । कवि सुन्दर कुरूपको काव्यिक वैचारिक धरातल पहिचान हो । मतलब उनको कविताको वैचारिक गन्तव्य समता र सामाजिक न्याय नै हो । पछिल्लो समय पहिचानवादी कविहरूको स्वर अलि उग्र भएको यथार्थ हो । कविको स्वर उग्र भएपछि कलालाई धकेल्दै नारा अगाडि आउने सम्भावना प्रचुर हुँदोरहेछ । तर्सथ पहिचानवादी कविहरूलाई केही समालोचकहरूले फगत कर्कश आवाजसम्म भन्न भ्याए । कर्कश स्वर उनको कविताको विशेषता होइन । यो पृथ्वीमा मेरो पनि गाउँ छ, त्यहाँ आमा छ, बुवा छ, मेरो अनुहार छ भन्ने शालीन र कलात्मक आग्रह नै समग्रमा पृथ्वीको आविष्कार हो ।
लामो समय गजल र कविता विधामा साधनारत कवि हुन् सुन्दर कुरूप । गजलमा पनि स्थापित नाम हुन् । गजल लेख्ने अभ्यासकै कारण होला, उनले कवितामा पनि थोरैमा धेरै कुरा भनेका छन् । कवितामा अनावश्यक शब्द आएको छैन । सम्भवत यसैकारण होला उनले लामो कविता लेख्न रुचि देखाएनन् ।
प्रत्येक कविको आफूलाई प्रिय लाग्ने केही शब्दहरू, विम्बहरू हुँदोरहेछ । त्यो रोग भनूँ या आदत कवि सुन्दरमा पनि रहेछ । जस्तो कि सर्वाधिकपटक उनले पृथ्वी विम्ब चलाएका छन् । खतरनाक र भयानक उनले बढ्ता प्रयोग गरेका प्रतीकहरू हुन् । लामो कविता पढ्ने आदत भएका पाठकहरूको लागि पृथ्वीको आविष्कारले तृप्ति दिँदैन ।
इलामका एक जना कवि छन् डम्बर पहाडी । उनी एकलाइने कविता (एलाक) लेख्छन् । उनको शैलीमा भन्ने हो भने पृथ्वीको आविष्कार छिप्पीएको निगार हो । तर, गुलियो छ ।

Page 23
कोसेली

प्रेम–यौनको राजनीति

- धनकुमारी सुनार

सन् १९०३ मा फ्रान्समा जन्मेकी सिमोन डी बोउवार प्रेम, यौन र महिला मुक्तिबारे विगुल फुक्ने लेखक हुन् । महिला उत्पीडनको चिरफार गरेकी सिमोनलाई विवाह–संस्थामा विश्वास थिएन । अविवाहित रहे पनि उनी अस्तित्ववादका प्रवर्तक ज्याँ पाल सार्त्रसँग प्रेम र यौन–सम्बन्धमा रहिन् । सार्त्र र सिमोनको जीवनमा पटक–पटक तेस्रो व्यक्ति आए पनि उनीहरूबीच माया र विश्वास कायम रह्यो ।
अर्की ऐतिहासिक व्यक्तित्व रोजा लक्जमबर्ग हुन्, जो पोल्यान्डमा सन् १८७१ मा जन्मिएकी मार्क्सवादी अभियन्ता हुन् । उनी पहिले पार्टी नेता लियो जोगिचेवसँग प्रेम–सम्बन्धमा थिइन्, पछि आत्मीय मित्र क्लारा जेटकिनका छोरा तथा अर्थशास्त्री एवं अभियन्ता कोत्सा जेट्किनसँगको रिलेसनमा थिइन् । उनको तर्क थियो, के प्रेम–सम्बन्ध वैवाहिक संस्थामा प्रवेश गर्न आवश्यक छ ? कानुनी सर्तमा बाँधिएर वैवाहिक जीवन जिउनु महिला पुरुषको नियति हो ?
यी युगान्तकारी महिलाले पितृसत्ताले बनाएका प्रेम, यौन, विवाह र परिवारसम्बन्धी कानुन र परम्परालाई चुनौती दिए । साहित्यकार पारिजातले पनि विवाह नगरी आफू प्रेम र यौन–सम्बन्धमा रहेको तथ्य सार्वजनिक गर्दै चुनौती
दिएकी थिइन् ।

पाखण्डी समाज र विषकन्या
नेपाली समाजमा प्रेम र यौन–सम्बन्धलाई ‘ट्याबु’ (निषेधित विषय) बनाइएको छ । त्यसैले पुरुषको यौन–कुण्ठा ६ महिने बालिकादेखि ९० वर्षको वृद्घाको बलात्कार र हत्यामा पोखिएको छ । महिला शरीर सहकर्मी, आफन्त, प्रेमी वा श्रीमान्को मोलमोलाई, हस्तक्षेप र आक्रमणको केन्द्र बन्दै आएको छ । यस्ता घटनाले महिला शरीरमाथि पितृसत्ताको राजनीतिलाई घाम जत्तिकै छर्लंग पारेका छन् ।
केही वर्षयता नेपाली समाजमा प्रेम, यौन–सम्बन्ध र यौनहिंसाबारे छलफल सुरु भएको छ । यौनहिंसाविरुद्घ महिलाहरू आँटसहित बोल्न थालेकाले प्रेम र यौन–सम्बन्धका विभिन्न आयामबारे बहस हुन थालेको छ । महरा काण्डले पनि नयाँ बहस सिर्जना गरेको छ ।
लेखक नरेन्द्रजंग पिटरले महरा काण्डपछि रोशनीलाई विषकन्याको उपमा दिए । विषकन्या बलियो शत्रुलाई मार्न वा शक्तिहीन गर्न प्रयोग गरिने महिलालाई जनाइन्छ । मन्दविष ख्वाएर बालिकाहरूको शरीरलाई विषालु बनाउने र शक्तिशाली पुरुष–शत्रुलाई प्रेमपासोमा पारेर मार्ने प्राचीन चलनतिर उनको संकेत होला । उनको बुझाइमा विषकन्याको सिकार भएका कृष्णबहादुर महरा अत्यन्त भलाद्मी थिए, सुरापानबाट टाढै रहने वैचारिक व्यक्तित्व थिए ।
महरा काण्ड हठात् घटित भएको घटना होइन, न त रोशनीलाई कसैले प्रयोग गरेको हो । हुन कसै–कसैले त सीआईएको संलग्नतासम्म भन्न भ्याए । हाम्रो दुःख नै के हो भने हामी मान्छेलाई मान्छे हुन दिँदैनौं । उसलाई अलौकिक वा देवताको स्तरमा राखेर हेर्छौं । खानु, सुत्नुजस्तै प्रेम र यौन–सम्बन्ध पनि मान्छेका जैविक आवश्यकता हुन् भन्नेसमेत बिर्सन्छौँ ।
महरा र रोशनीबीच प्रेम सम्बन्ध, लेनदेन वा अरू केही थियो । यो उनीहरूबाहेक अरूका लागि अनुमानको विषयमात्र हो । तीन दशकको सम्बन्ध प्रेम नै थियो भने दुःखान्त भएको छ । यही मेसोमा विवाह–संस्थाभन्दा बाहिरका प्रेम र यौन–सम्बन्धबारे बहस जारी छ । उनीहरूको प्रेम र यौन–सम्बन्धले जन्माएका प्रश्नबाट छलफल सुरु गर्न सकिन्छ ।
प्रश्न एक : महरासँग उच्च राजनीतिक हैसियत नभएको भए, दुवैबीच प्रेम भएको भए, दुवैले आफ्ना पुराना सम्बन्ध–विच्छेद गर्न र कुनै पनि उमेरमा दोस्रो विवाह गर्न पाउने सहज वातावरण भएको भए के हुन्थ्यो ? उनीहरूले पुराना सम्बन्धविच्छेद गरी दोस्रो बिहे गरी सुखद जीवनको विकल्प रोज्न पनि सक्थे । यो खालको दुर्घटना दुवैको जीवनमा आउने थिएन र दुवैका परिवारजनले मानसिक पीडा खेप्नुपर्ने थिएन । समाजमा यस्ता धेरै विवाहित छन्, जसले आपसमा प्रेम–सम्बन्ध नहुँदानहुँदै पनि मक्किसकेको वैवाहिक संस्थालाई जोगाउनुपर्ने सार्वजनिक बाध्यता झेलिरहेका छन् ।
प्रश्न दुई : प्रेम, विवाह र यौनबारे धेरैजसोको धारणा पुँजीवादी भइसक्ने वा नयाँ आयाम खोजी गर्ने । तर, मानसिकता, संस्कार र बुझाइ भने सामन्तवादमै टाँस्सिइरहेको छ । अब प्रेम र यौन–सम्बन्धबारे पुराना डिस्कोर्सको खुलेर विश्लेषण गर्दै समाजलाई सही ट्र्याकमा लैजान परिवर्तकारी पुस्ताले भूमिका खेल्न जरुरी छ । महिलापात्र मात्रै सिद्दिने र पुरुषपात्र निर्णायक, वीर र ठालु भइरहेने हो भने हाम्रा प्रेम र यौन–सम्बन्ध भत्किन्छन् नै, भत्किन दिनुपर्छ । पुरानो समाप्त नभई नयाँ सिर्जना हुँदैन ।

प्रेम र यौनमा देखिएको संक्रमण
मानव समाजको सुरुआतमा न एकनिष्ठ विवाह थियो, न यौन–सम्बन्ध नै । नैतिक/अनैतिक जे भए पनि, प्रेम वा सहमतिमा परिपक्व महिला र पुरुषबीच हुने एकनिष्ठ वा बहुनिष्ठ यौन–सम्बन्ध प्रचलित यथार्थ हो । यौन र प्रेमको मामलामा धेरै थोरै मान्छे मात्र एकनिष्ठ हुन सक्छन् । को–कोबीच कति यौन–सम्बन्ध वा प्रेम भयो भनेर तेस्रो व्यक्ति गोठालो लागेर साध्य हुँदैन । त्यसमा दुई कर्ता नै सजाय र पुरस्कारका लागि जिम्मेवार हुने हो ।
प्रेम, यौन र विवाह संस्थासम्बन्धी बुझाइ र अपेक्षा बदलिँदो छ । तर, समाजका ठेक्का लिएका राजनीतिक र सामाजिक मठाधीशका बुझाइ, व्यवहार भने जडसूत्रवादी छ । अब यौन र प्रेममा बहुनिष्ठतालाई प्रश्रय दिनुपर्छ भन्ने होइन । जसरी प्रेम र यौनमा महिला–पुरुषको समान भागीदारी चाहिन्छ, त्यसरी नै महिला र पुरुषबीच समान मर्यादा र विश्वास जोडिनुपर्छ ।
विवाहअघि–पछि परिपक्व महिला र पुरुषबीच सहमतिमा हुने मानसिक वा शारीरिक सम्बन्धलाई समाजपिच्छे फरक ढंगले हेरिन्छ–बुझिन्छ । के नैतिक, के अनैतिक, समाज र त्यसको अवस्थाअनुसार भिन्नता छ । आज विवाहपूर्व र विवाह–इतर शारीरिक सम्बन्ध सामान्यजस्तै हुन थालेको छ । समाज जति खुला हुँदै छ, यौनबारे बुझाइ र गराइ पनि खुकुलिँदै छ ।
नेपाली पितृसत्तात्मक समाज महिलाको यौनिकतामाथि नियन्त्रणमा टिकेको छ । त्यसैले महिलालाई यौनबारे छलफल गर्न, यौनानन्दका गतिविधिबारे जानकारी लिनसमेत विमुख पारिएको छ । सबै क्षेत्रमा पुरुष आधिपत्य रहेकाले महिला शरीरमाथि पनि जे गरे हुन्छ भन्ने मानक स्थापित छ ।

बदलिँदो प्रेम र यौनको भाष्य
भनिन्छ, प्रेममा जात, वर्ग र देशको सीमाले अर्थ राख्दैन, न त विवाह हुनु नहुनुले नै माने राख्छ । यौन–सम्बन्धलाई एकनिष्ठ बनाउँदै प्रेमपछि विवाह अनि यौन–सम्बन्धको मान्यतामा बाँध्नु राम्रो हुन सक्ला । तर, नेपाली समाजमा पनि थुप्रै युवा–जोडी विवाह नगरी रिलेसनमा बस्न थालेका छन् । महिलाहरूले सगर्व भन्न थालेका छन्, ‘म रिलेसनमा छु, म विवाहमा विश्वास गर्दिनँ ।’ यो प्रेम र यौनबारे सडेगलेका मान्यताप्रति नयाँ पुस्ताको विद्रोह पनि हो । यो विद्रोहलाई नकार्न सकिँदैन, बरु यसलाई कसरी स्वस्थ र मर्यादित बनाउने भन्ने सवाल प्रधान हो । पुरुषहरूले खुला रूपमा विद्रोह गरेको कमै पाइन्छ । पुरुष मनोविज्ञान अझै आँटिलो देखिएको छैन । समाजका पुरानै मूल्य–मान्यतामै ऊ खुसी छ, किनकि ऊ प्रेम र यौनमा आफू एकनिष्ठ हुन चाहँदैन तर महिलालाई भने एकनिष्ठ बनाउन खोज्छ ।
युवा पुस्ता, अझ महिलामा विवाह संस्थाप्रति विश्वास गुम्दै छ । यसमा पढेलेखेका र कामकाजी महिलाको बाहुल्य छ । यसको अर्थ उनीहरू विवाह संस्था र परिवारबाट विमुख हुँदै छन् । यसले देखाउँछ, पुरानो समाज र परिवारसम्बन्धी युटोपिया भत्किँदै छ । समाजका अरू पक्ष फेरिँदै छ भने प्रेम, यौन, विवाह, परिवार सामन्ती र पितृसत्तात्मक रहन सक्छन् त ? परम्परा, संस्कार र संस्कृतिका नाउँमा महिलामाथि थोपरिएका बन्देजका आधारमा समाज सभ्य र परिवार आदर्श बनिरहन सम्भव छ ? अवश्य छैन ।

मुक्तिको सामूहिक चेष्टा
हाम्रो समाज प्रेम र यौनको मामिलामा लुकेर जे पनि गर्ने, तर खुलेर गर्दा स्वीकार्य नहुने ढोंगी छ । यसले थुप्रै असन्तुष्ट जोडीलाई निरस र प्रेमविहीन वैवाहिक जीवन बिताउन बाध्य पारिरहेको छ । त्यसैले धेरैको प्रेम र विवाहको दुःखद अन्त्य भइरहेको छ ।
साहित्यकार आहुति प्रेम र यौन पनि राज्यसत्ताको चरित्रअनुरूप निर्माण हुने बताउँछन् । नेपाली समाज प्रेमको मामिलामा संघर्ष गर्दै छ, किनभने प्रेममा अझै जात, वर्ग र धर्म प्रधान छ । प्रेम जीवनको बाधक र वर्जित चीज होइन, सहयोगी बन्नुपर्छ । प्रेम र यौनलाई लिपपोत गरेर छोप्ने हैन, बाहिर निकाल्नुपर्छ । त्यसैले यसलाई व्यवस्थित, सुसंगत र सुसंस्कृत बनाउने चुनौती छ ।
पुँजीवादमा पद र पैसाले सबै कुरा किन्न सकिन्छ, त्यसमा पनि महिलाको किनबेच र उनीहरूमाथिको हिंसा अत्यधिक छ । निःसन्देह, कुनै पनि सम्बन्धमा, प्रेम र यौनमा प्रेमी, श्रीमान् वा अर्को कुनै व्यक्तिबाट हुने हिंसा स्वीकार हुन सक्दैन । अतः सिमोन दी बोउर भन्छिन्, ‘यदि पुरुषले काम–क्रीडालाई एक युद्घ–क्षेत्र र बिस्तरालाई अखडा मान्न बन्द गर्छ भने स्त्रीका कैयौँ समस्या सहजै दूर हुनेछन् ।’
वर्तमानमा प्रेम र यौन–सम्बन्धलाई जटिल र ट्याबु बनाउनेभन्दा यसबारे सही ज्ञान र व्यवस्थापनको खाँचो देखिन्छ । प्रेममा त विश्वास, त्याग र समर्पण मात्र हुनुपर्छ । प्रेममा छलकपट, हिंसा र तिरस्कारको ठाउँ नै हुनु हुँदैन । तर, प्रेमका नाउँमा गरिने ढोङमा चाहिँ शरीर र सत्ताको लेनदेन हुनसक्छ । प्रेम र हिंसा दुई विपरीत भिन्न छन्, आकाश र जमिनजत्तिकै । जहाँ दुई महिला र पुरुषबीच प्रेम र आदर हुन्छ, त्यहाँ निमेष पनि दबाब र हिंसाको कल्पना गर्न सकिँदैन, न त प्रेममा माइनस–प्लसको फर्मुला नै लागू हुन्छ । हुन्छ त त्याग, समर्पण र प्रेम अनि प्रेम नै हुन्छ, जसले परिवार र समाजलाई समेत अग्रगतिमा लैजान्छ ।
@DhanaKumari
(नेपाल महिला आयोगकी पूर्वआयुक्त सुनार हाल मानवशास्त्रमा पीएचडी गर्दै छिन्)

कोसेली

प्रिन्ट अन डिमान्ड

- लोकरञ्जन पराजुली

डीसेम्बरको पहिलो साता म दिल्ली पुगेको थिएँ । उद्देश्य थियो, दिल्ली विश्वविद्यालयको शिक्षा विभागले आयोजना गरेको दक्षिण एसियाली उच्च शिक्षासम्बन्धी सम्मेलनमा कार्यपत्र पेस गर्ने । दिल्ली जाँदा, सदाझैँ मार्टिन चौतारीको पुस्तकालयका लागि केही पुस्तक ल्याउने जिम्मा मेरो थियो । म मात्र किन, चौतारीका सदस्य र शुभेच्छुक विदेशबाट फर्किंदा चौतारीको पुस्तकालयका लागि पुस्तकहरू किनेर ल्याउँछन् ।
प्रत्यूष वन्तले भनेर चौतारीका लागि पुस्तक बोकेर आएका नेपाली र विदेशी दर्जनौं होलान् । यो महिना मात्रै इन्डिया, सिंगापुर, अमेरिका, बेलायतबाट काठमाडौं आएका चौतारी–शुभेच्छुकहरू पुस्तक बोकेर थापाथली आएका थिए । त्यसैले चौतारीको पुस्तकालय आजको दिनमा समाज–विज्ञानका महत्त्वपूर्ण र नयाँ–नयाँ पुस्तक पाइने प्रमुख स्थान बनेको छ ।
म दिल्ली पुग्नुअघि नै मनोहर पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्सका मालिक अजय जैनलाई प्रत्यूषजीको इमेल पुगिसकेको थियो— रमेश दिल्ली आउँदै छ, यी किताब र जर्नलका अंक जम्मा गरेर राखिदिनू, चौतारीले सदाझैं पाउने डिस्काउन्टसहित । अजयसँग प्रत्यूषजीको पुरानै चिनजान हो । पहिले–पहिले पनि यताबाट चौतारीले पठाएको सूचीअनुसार, मनोहरले पुस्तक जम्मा गरेर पठाइदिने गरेको थियो ।
सम्मेलन सकेर घर फर्कने अघिल्लो दिन म मनोहर बुक्स जाने भएँ । यसबीच मैले अजय र रमेश जैनको इमेल पाइसकेको थिएँ । मैले आफ्नो मोबाइलमा उबर इन्स्टल गरें, ट्याक्सी डाकें अनि लागें अन्सारी रोड, दरियागन्ज । हो त्यही दरियागन्ज, जहाँ क्याम्ब्रिज युनिभर्सिटी प्रेस, अक्स्फोर्ड युनिभर्सिटी प्रेसलगायत दर्जनौं प्रकाशकको पसल छ, जहाँ आइतबार–आइतबार पुस्तक–हाट लाग्छ, जहाँ सेकेन्ड ह्यान्डदेखि, क्लासिक साहित्यिकदेखि नयाँ, सस्ता, पाइरेटेडसम्मका किताब किन्न पाठकको भीड लाग्छ ।
म बिहीबार पुगेको थिएँ, त्यसैले भीडभाड थिएन । मोटर, टेम्पु, मोटरसाइकल, रिक्साको झर्कोलाग्दो ट्याँ–टुँचाहिँ अवश्य थियो । मनोहर बुक्सको पसलमा पुगेर मैले आफू काठमाण्डूबाट पुस्तक लिन आएको बताएँ, अजयसँगको पूर्वकुराकानीको सन्दर्भसहित । अजय कामविशेषले दिल्लीबाहिर भएको मैले जानकारी पाइसकेको थिएँ । मेरो पहिलो जम्काभेट भएका कर्मचारी हाँ–हुँ गर्न थाले । मैले ‘रमेश जैन हैं क्या ?’ भनेर सोधें । उनले मुक्ति पाएझैं ‘हाँ हैं, आप मिलना चाहेंगे !’ भने । मैले ‘अँ’ भनेपछि उनले मालिकलाई फोन लगाए । उताबाट ‘पठाइदेऊ’ भनेपछि म अर्को कामदारको पछि लागेर एक तलामाथि पुगें, जहाँ रमेश जैन आफ्नो टेबलको वरपर पुस्तकको खात राखेर काममा व्यस्त थिए ।
मैले आफ्नो परिचय दिँदै आउनुको कारण बताएँ । उनले बस्न भने, चिया अफर गरे र मेरो अर्डरबारे केटाहरूसँग सोधपुछ गरे । अजयलाई पनि फोन लगाए । मैले आशा गरेजस्तो पुस्तक खोजेर, पोको पारेर, बिल बनाएर तम्तयार पारेर राखिएको रहेनछ । त्यसैले कर्मचारीले पुस्तकहरू खोजेर ल्याउँदासम्म म रमेश जैनसँग मूलतः पुस्तक प्रकाशनकै वरपर गफिएर बसें ।
अजयका बाबु हुन् रमेश । मनोहर बुक्सका संस्थापक । सन् १९७० मा अजय जन्मेकै वर्ष उनले यो व्यवसाय र प्रकाशन सुरु गरेका रहेछन् । मलाई लागेको थियो, यो उनको पुस्तैनी पेसा होला । त्यसैले मैले कन्फर्म गर्न तिम्रो ‘पुस्तैनी व्यवसाय हो यो ?’ भनी सोधें । होइन रहेछ । मैले उनी कसरी पुस्तक व्यवसायमा छिरे भन्ने कुरा जान्न चाहें । उनले भने, ‘मेरा काकाहरू पढन्ते थिए । उनीहरू खुब किताब किन्थे, पढ्थे । म पनि किताबमा रमाउन थालें । बाहिरी प्रकाशकका किताब राम्रा हुन्थे—छपाइ, बाइन्डिङ राम्रो हुन्थ्यो । तर, हामीकहाँबाट हुने प्रकाशन त्यति गतिला हुन्थेनन् । त्यसैले हामीकहाँबाट पनि गतिला किताब छाप्न किन नसकिने भनेर यतातिर लागियो ।’
गुडगाँवका रमेश पुस्तकको व्यवसाय गर्न दिल्लीको यो इलाका छिरे । ‘म यहीँ नजिकै बस्थेँ,’ उनले भने । बुढेसकालमा उनी पुनः गुडगाँव फर्किएका छन् । बिहान–बेलुकै करिब डेढ–डेढ घण्टा लाग्छ आउन–जान । तर, उनी खुसी छन् आफू जन्मे–हुर्केको ठाउँ फर्किंदा । यद्यपि, उनले थपे, ‘वो गुडगाँव अब् कहाँ ?’
मैले सोधिनँ, उनले यो पाँच दशकमा कति किताब छापे । तर, पाँच दशकमा छापेकामध्ये सयवटा पुस्तक उनी रिप्रिन्ट गर्दै रहेछन् । ‘९५ वटाको काम सकेर छापी पनि सकियो,’ उनले अर्को कुनामा रहेको पुनर्मुद्रित पुस्तकको खात देखाउँदै भने । बाँकी पाँचवटा यही वर्ष (सन् २०१९) भित्र आउँछ रे । ‘म तिनै पुस्तकको काम गर्दै थिएँ,’ उनले थपे ।
रमेश जैन अहिले पुस्तक प्रकाशनको काम मात्र हेर्छन् । बाँकी काम उनका छोरा अजयको भागमा छ ।
मैले ती पुस्तकको ‘प्रिन्ट रन’ बारे सोधें । उनले भने, ‘एक सौ पचास ।’ सायद उनलाई लाग्यो, म अलमलिएँ, त्यसैले थपे, ‘अब् तो पीओडी आ गया है ना ।’ मलाई पीओडीबारे थाहा नभएको होइन, तथापि मेरो दिमागले तत्काल त्यो सूचनालाई प्रशोधन गर्न ढिलाइ गरेकै हो । सम्भवतः मेरो दिमागमा नेपालका खासगरी नयाँ प्रकाशकहरूले अलि ठूलो संख्यामा पुस्तक छाप्न भारततर्फ लाग्ने गरेको जानकारी घुमिरहेको थियो ।
हाम्रो कुराकानी पीओडी अर्थात् ‘प्रिन्ट अन डिमान्ड’ तर्फ मोडियो ।
मेरो चासो ‘कस्ट इम्प्लिकेसन’ मा थियो । ‘अलि महँगो पर्दैन र ?’ मैले सोधें । ‘पर्दैन,’ प्रश्न खस्नेबित्तिकै उत्तर झ‍र्‍यो । म घोरिएँ । मैले अविश्वास गरेजस्तो लाग्यो होला उनलाई । जैनले थपे, ‘हो, अलिकति महँगै पर्छ । तर, भण्डारण, कर्मचारी, इत्यादिको हिसाब गर्ने हो भने उस्तै हो । अझै सस्तो पर्ला ।’
‘अहिले विश्वका ठूला प्रकाशनगृह सबै पीओडीमा गैसके,’ जैनले भने । हामी प्राज्ञिक प्रकाशकहरूको कुरा गर्दै थियौं, जो वर्षमा सयौं–हजारौं टाइटल (पुस्तक) छाप्छन् । रुटलेज, अक्स्फोर्डजस्ता प्रकाशकका वर्षका ५–६ हजार टाइटल प्रकाशन हुन्छन् । उनीहरूलाई विभिन्न महादेश–देशका सहरमा गोदाम राख्नुपर्थ्यो । तर, अब त्यति झन्झट रहेन ।
प्रकाशकलाई क्रेता–वितरकको माग आउँछ । प्रकाशकले प्रेसलाई अर्डर दिन्छ । साथै, पठाउने ठेगाना पनि दिन्छ । मुद्रकले सोहीअनुरूप छाप्छ र सीधै वितरककहाँ माल झारिदिन्छ । पहिलेजस्तो प्रेसबाट माल आएपछि चेक–जाँच गरेर वेयरहाउसमा राख्न कर्मचारी खटाउनुपरेन । न माग आएपछि प्याक गरेर पठाउनुपर्‍यो । खर्च जोगियो ।
मार्टिन चौतारीबाट हामीले पनि पुस्तक प्रकाशन गर्छौं । आफूले गरेका अनुसन्धानमा आधारित पुस्तक व्यापारिक प्रकाशकले नछाप्ने, छापे पनि प्रि–प्रेसको काम गर्न नचाहने र नसक्ने पुस्तक हामी छाप्छौं । बजारमा ह्वारह्वार्ती बिक्री हुने किताब हुँदैनन् हाम्रा । न मुलुकभरिका पुस्तक पसलमा पु‍र्‍याउन सक्छौं ।
(पुस्तक पु‍र्‍याउनै नसकिने होइन तर बिक्री भएको पैसा फिर्तै आउँदैन ।) त्यसैले, कति प्रति छाप्ने भन्ने तय गर्न हामीलाई सधैँ हम्मे पर्छ । कारण, कम छापौं प्रतिकपी मूल्य ज्यादै महँगो पर्छ । अलि धेरै छापौं भण्डारण गर्ने ठाउँ हुँदैन । पीओडी त्यसैले हाम्रा लागि पनि काम लाग्ने प्रविधि भएकाले म चाख लिएर उनका कुरा सुनिरहेको थिएँ ।
हामी चियाको चुस्कीसँगै कुराकानी गरिरहँदा जैनको अघि टेबुलमा दुइटा अर्का प्रकाशन गृहका पुस्तक पनि थिए । ती दुवै निकै पहिले निस्केका पुस्तक पछि स्क्यान गरेर पुनर्मुद्रण गरिएका हुन् । सायद अलि पहिले भए ती पुस्तक रिप्रिन्ट नहुन पनि सक्थे । तर, अहिले हुन्छन् । किनकि ५–१०–२०–५० जति संख्यामा पनि तुरुन्तै छाप्न सकिन्छ, पुनः टाइप गराइराख्नु पर्दैन ।
कतिपयले ई–कपीका कारण मुद्रित कपीको ‘एलजी’ लेखिसके पनि जैन हार्डकपीका दिन सकिएको ठान्दैनन् । ‘पुस्तकालयहरू इलेक्ट्रोनिकतिर गएका छन् र भएका किताब पनि फ्याँकेका छन् तर उनीहरू पछुताउनुपर्नेछ,’ जैन भन्छन् । किताबलाई हातमा लिएर सुमसुम्याउँदाको अनुभव, मसीको त्यो गन्ध इलेक्ट्रोनिकबाट कहाँ पाउनु ? त्यसैले उनी ठान्छन्, मानिसहरू फिजिकल कपी नै पढ्न चाहन्छन् । मैले कुराकानी नेपालतर्फ मोडेँ । मनोहरबाट नेपाल र नेपालीको कुनै नयाँ प्रकाशन हुँदै छ कि भनेर सोधेँ । ‘खोइ, खासै छैन । एउटा एडिटेड भोल्युमको कुरा भएको छ । मेन स्क्रिप्ट हात परेको छैन । लेखहरू सम्पादन हुँदै छन् भन्छ,’ उनले एकै सासमा भने ।
‘तपाईंको प्रकाशनबाट छापिएको नेपालसम्बन्धी सबैभन्दा चलेको किताब त हृषीकेश शाहको होला होइन ? उनको किताब त अझै राम्रै बिक्री हुन्छ होला ?’ मैले सोधें । उनले सम्मतिमा टाउको हल्लाए र थपे, ‘सायद लेखकहरू बितेपछि उनीहरूका किताब पनि मानिसले बिस्तारै बिर्सन्छन्जस्तो छ ।’ त्यसपछि हामीबीच शाहबारे अलि लामै गफ भयो । जैनले आफ्ना लेखक शाहका मनमौजी र जुवाडे आनिबानिबारे किस्सा सुनाए ।
चिया सकिइसकेको थियो । इमेलबाट अर्डर दिएका केही किताब र मनोहरले निकाल्ने साउथ एसिया जर्नलका अंकहरू लिएर उनका कर्मचारी आए । मैले पैसा तिरें । उनलाई धन्यवाद दिँदै म आफ्नो मुकाम दिल्ली विश्वविद्यालयको गेस्टहाउसतर्फ फर्किएँ ।

Page 24
कोसेली

क्रस क्रस क्रस पार्टी

- कृष्ण धरावासी

सायद यस्तै सन् ७२/७३ तिरको कुरा हुनुपर्छ । म सञ्जीवभन्दा दुई वर्ष जेठो भए पनि लुते तथा पुड्को भएकाले उनीभन्दा मै सानो देखिँदो हुँ । उनीचाहिँ लुते र सुलुत्त परेका थिए । हामी त्यस्तै नौ–दस वर्षको छेउछाउमा थियौं होला । त्यसबेला भारत र पाकिस्तानको युद्ध भइरहेको थियो । एकएक छिनमा पूर्वतिरबाट बत्तिएर आएका भारतीय युद्ध विमानहरू हाम्रो आकाशमाथि उड्न थाल्थे । फाइटर आयो फाइटर भनेर मानिसहरू डरले घरभित्र लुक्न थाल्थे । साँझमा अल इन्डिया र रेडियो सिलोनले ‘बत्ती बुझाओ बत्ती बुझाओ’ भन्थ्यो र हतारहतार घरघरमा बत्ती निभाइन्थे । हुन त त्यो लडाइँ हाम्रो देशसँग थिएन तर युद्ध विमानहरूले सायद जानीजानी नै हाम्रो देशको हवाई सीमाको अतिक्रमण गर्थे होलान् ।
युद्धको आतंकले ठूला मानिस त्रसित थिए होलान् । त्यसरी फाइटर हाम्रो आकाशमा कहिले माथि कहाँ हो कहाँ, कहिले टाउकैमा खस्लाजस्तो भएर उडेको हेर्न कत्ति हो कत्ति मज्जा लाग्थ्यो । यहाँ करायो भनेर हेरिसक्दा कहाँ पुग्थ्यो कहाँ ! हामी भुरा पनि युद्धमय भएका थियौं तर मलाईचाहिँ त्यो युद्धबारे त्यस्तो धेरै कुरा थाहा थिएन । हाम्रोमा रेडियो पनि थिएन । घरमा अन्तर्राष्ट्रिय कुरा बुझ्ने मानिस पनि थिएनन् । पत्रपत्रिकाको चलन पनि थिएन ।
सञ्जीवको घरमा त सबै थोक थियो । रेडियो पनि थियो, भारतीय पत्रिका पनि थिए । डा. बा (शंकरप्रसाद उप्रेती) ले भारतबाटै एमबीबीएस गर्नुभएकाले पनि उहाँलाई यो युद्धबारे बढी चासो थियो नै होला । डा. बाबाटै जानेर होला, सञ्जीवले नै मलाई यो युद्ध के हो र किन भइरहेको छ भनेर सुनाउँथे । उनले भनेका कुरा मलाई आमाले बेलुका सुनाउने गरेका कथाजस्ता लाग्थे । म उनका कुरा सुन्दासुन्दै कल्पनाको संसारतिर घुम्न थाल्थेँ । मलाई सञ्जीवले भनेका सबै कुरा सत्य लाग्थे र पत्याएका तिनै कुरा म पनि घरमा लगेर सुनाउँथें । आमाबुबाले त पत्याउँथे कि पत्याउँदैनथे, मभन्दा साना बहिनीहरू र गाउँका अरू स्कुल नजाने साथीहरू ती कुरा सुनेर दंग पर्थे । म उनीहरूलाई ती कुरा सञ्जीवले भनेको नभनी आफैंले जानेको भनि सुनाउँथें र उनीहरू मसँग झन् छक्क पर्थे ।
म अरूलाई दंग पार्थें । तर, मलाई सञ्जीवले दंग पार्थे । सञ्जीवले भनेका कुनै कुरामा पनि म शंका गर्दिनथें । म उनलाई अन्धो विश्वास गर्थें । मैले उनलाई त्यसरी विश्वास गर्नुमा उनको घरको साधन र स्रोतको प्रभाव थियो । कहिलेकाहीं डा. बा हामीलाई छेऊमा राखेर ठूला मानिससँग गरेजस्तो कुरा गर्नुहुन्थ्यो । त्यसकारण पनि मलाई लाग्थ्यो, सञ्जीवले नजानेको केही छैन । हुन पनि त्यसबेलाको मेरो अनुभवमा, त्यो उमेर समूहमा उनले नजानेको भन्ने केही थिएन पनि । जुनसुकै विषयको पनि उत्तर हुन्थ्यो उनीसँग ।
एक दिन सञ्जीव र म उनकै स्टडी रुममा पढिरहेका थियौं । उनले एकाएक आफ्नो छाती थिचेर ऐया... भने । कसैले केही पनि नगरी ऐया... भनेको सुनेर म अलमल्ल परें । उनले एक छिनसम्म छाती समातिरहे । मलाई डर लाग्यो । छाती दुखेको कुरा बुबालाई भनौं भनी उनीसँग सोधें । उनले बिस्तारै भने, ‘यो कुरा बुबालाई भन्नु हुँदैन । यहाँ मलाई गोली लागेको छ । यो कुरा बुबा–आमालाई थाहा छैन ।’ यो सुनेपछि म झन् आत्तिएँ । अनि मैले ‘खै कहाँ, हेरौं त !’ भनें । उनले भने, ‘यो त्यसरी पनि हेर्न मिल्दैन । भर्खरै दबाई गरेको छ । कसैलाई देखाउन मिल्दैन ।’
उनको कुराले म झन् अचम्मित भएँ । मैले फेरि सोधें, ‘कसरी गोली लाग्यो त ? कसले हानेको गोली ?’ उनले बिस्तारै भने, ‘यो भारत–पाकिस्तानको लडाइँको बेला लागेको हो ।’ मैले भनें, ‘त्यो लडाइँ त भर्खरै भइरहेको छ । तिमीलाई कसरी लाग्यो ?’ उनले भने, ‘भारत र पाकिस्थानको लडाइँ पहिले पनि भएको थियो । त्यतिबेला म भारतीय सेनामा थिएँ । मैले फाइटर उडाउनुपर्थ्यो । मेरो फाइटरले पाकिस्तानी सीमा नजिकै पुगेर बम खसाल्दै गर्दा तलबाट हानेको गोली मेरो छातीमै लाग्यो । मैले हतारहतार फाइटर फर्काएर ल्याएँ । अनि अस्पतालमा उपचार गरेर फिर्ता पठाएका नि !’
म ट्वाल्ल परें । मेरो साथी त्यसरी मर्दामर्दै बाँचेकोमा खुसीले उफ्रौंजस्तो भयो । उनका कुराले म झन् आकषर््िात भएँ । अनि सोधें, ‘अनि तिमी त्यसरी लडाइँमा गएको आमाबुबालाई थाहा भएन ?’ उनले भने, ‘म लुसुक्क लुकेर गएँ नि । कसैले पनि थाहा पाएनन् । थाहा पाएको भए त मारिहाल्थे नि !’ उनको त्यो कुरा सुनेपछि अब त झन् मैले कसैलाई भन्नै नहुने भयो । डा. बा र आमाले त झन् थाहा पाउनै भएन !
त्यो कुरा मैले निकै पछिसम्म नै पत्याएछु । आज पनि मलाई त्यो कुरा पत्याइरहन मन लाग्छ ।

हुन त हरेक बच्चामा स्वैरकाल्पनिक क्षमता प्रशस्त हुन्छ तर त्यो पछिसम्म कत्तिको रहन्छ भन्ने कुरा मुख्य हो । कल्पना त म पनि गर्थें तर त्यसरी पत्याउन सक्ने पाराले भन्ने क्षमता थिएन । त्यस्तै कक्षा चारतिर थियौं होला । एक दिन सञ्जीवले भने, ‘मैले पानी पार्ने बम बनाएको छु । हेलिकप्टरबाट माथि आकाशमा लगेर पड्कायो भने तुरुन्त पानी पर्छ । तर, त्यो पड्काउन लैजाने हेलिकप्टर किन्ने पैसा मसित छैन । पछि ठूलो भएर पैसा कमाएपछि म हेलिकप्टर किनेर त्यो बम पड्काउँछु ।’ यो कुरो पनि मैले पत्याएँ । म किन पत्याउँथे भने सञ्जीव ढाँट््दैनन् र उनले त्यो गर्न सक्छन् भन्ने लाग्थ्यो । अर्थात् उनी मेरो हिरो थिए । हिरोले नसक्ने के हुन्छ र !

एक दिन उनले भने, ‘अब हामीले फलाम सिलाउने मेसिन बनाउनुपर्छ ।’ अनि कैयौं दिनसम्म फलामका टुक्रा, फलामका तार र खापसियो भेला गर्यौं । यो टिममा चाहिं एक जना मारवाडी साथी पनि थिए— भिखमचन्द्र मित्तल । गोदामपछाडि हामीले प्रयोगशाला बनाउने भयौं । केही दिन कोसिस गरेको, काम भएन । अनि त्यसको सिद्धान्त बनाउने जिम्मा हामीले सञ्जीवलाई दियौं । तर, अहिलेसम्म पनि उनले हामीलाई त्यो सिद्धान्त बनाएर दिएका छैनन् । यस काममा उनी ढिला भए ।

फेरि एकपल्ट हिमाल चढ्ने कुरा लिएर आए । उनले भने, ‘हिमालमा यति मानव हुन्छ । त्यसलाई कसैले पनि देखेको छैन । मैले भेटेको छु । त्योसँग मैले कुरा पनि गरेको छु । त्यो धेरै अग्लो हुन्छ । त्यसले मेरो साथीसँग पनि भेट्छु भनेको छ । अब भिखम र तिमी पनि मसँग हिमाल जाऔं ।’ हामी जाने भयौं । अनि उनले भने, ‘हिमाल चढ्नुअघि पहिला चढ्ने अभ्यास गर्नुपर्छ । भोलि गुड फ्राइडेमा हिमाल चढ्ने अभ्यास गर्न जाऔं ।’ अनि शुक्रबार आधा दिनको बिदापछि हामी बिरिङ खोलातिर गयौं । त्यहाँ नदीले काटेर अग्लोअग्लो भीर बनाएको थियो । हामी त्यही भीर चढ्न थाल्यौं । कैयौंपल्ट चिप्लेर लड्यौं । कैयौंपल्ट धसारिएर घुँडा र पिंडुलाका छाला पिल्स्यायौं र बेलुका गलेर लखतरान भई घर फर्क्यौं । अनि भिखम र मैले हिमाल चढ्न गाह्रो मानेपछि त्यो दिन स्थगित भएको हाम्रो हिमाल आरोहण आजसम्मै अलपत्र छ ।

सञ्जीवको कल्पनाशक्ति बेजोडको थियो । सानैदेखि उनका लागि घरमा अंग्रेजी भाषाका बालसाहित्यका किताबहरू ल्याइएको हुन्थ्यो । उनी ती कथाहरू पढेर हामीलाई फररर सुनाउँथे । उनी कथावाचक र हामी श्रोता हुन्थ्यौं । पछि मैले पनि बुझ्दै गएँ, उनी कतिपय तिनै अंग्रेजीका बालकथा आत्मपरक ढंगले हामीलाई सुनाउँदा रहेछन् । हुर्किंदै गएपछि उनको पढ्ने पुस्तकको स्तर पनि बढ्दै गयो । अब हामी जासुसी किताब पढ्ने भयौं । मचाहिं हिन्दीका जासुसी किताब पढ्थें, उनी जेम्स हेड्ली चेजका अंग्रेजी जासुसी उपन्यास पढ्थे । जासुसी उपन्यास पढ्न थालेपछि अब हामी अपराधी पत्ता लगाउने हुने भयौं । एउटाले अपराध गर्ने र अर्कोले त्यो अपराध पत्ता लगाउने खेल खेल्न लाग्यौं । उनले गरेको अपराध पत्ता लगाउन हामीलाई निकै बेर लाग्थ्यो, हामीले गरेको अपराध भने उनी एकै छिनमै पत्ता लगाउँथे ।
एकपल्ट स्कुलमा फुटबल खेल्ने साथीहरूका प्यान्टहरू हराउने र अर्को दिन भेटिने हुन थाल्यो । यो क्रम झन्डै एक हप्तासम्म चलिरह्यो । स्कुलमा ठूलै खैलाबैला हुन थाल्यो । खैलाबैला हुनुको मुख्य कारणचाहिं हराएका प्यान्टका गोजीमा धम्कीपूर्ण चिट्ठीहरू हुन्थे र ती चिट्ठीको पुछारमा धम्की दिनेले ‘क्रस क्रस क्रस पार्टी’ लेखेको हुन्थ्यो । त्यो घटनाले गम्भीर रूप लियो । त्यो चिट्ठी पुलिसको हातमा पनि पुग्यो ।
त्यसपछि पनि प्यान्ट हराई नै रह्यो । सञ्जीव र म पनि छक्क परेका थियौं ! हामीभन्दा पनि बाठो र खतरा स्कुलमा को आयो भनेर हामी चकित थियौं ।
त्यहीबीच एक दिन चौथो घण्टी लागिसक्दा–नसक्दै विभिन्न कक्षाका विद्यार्थी गुरुरुरुरु दौडेर अफिसतिर गएको देखियो । म पनि दौडिएर भीडमा खाँदिँदै झ्यालको डन्डी समाउन पुगें । भित्र कोठामा प्रध्यानाध्यापकलगायत अधिकांश सर एकमुख लाएर सञ्जीवलाई हप्काइरहेका थिए । एक छिनसम्म मैले केही बुझिनँ । सधैं स्कुलको बोर्ड फस्ट हुने साथीलाई सरहरूले त्यसरी हकार्नुपर्ने कारण के रहेछ ! उनको र मेरो कक्षाको सेक्सन फरक भएकाले उनलाई कक्षाबाट निकालेर लगेको मैले देख्ने कुरै भएन ।
हेडमास्टरले सबै सरलाई एउटा कागज पालैपालो देखाउँदै सोध्दै थिए, ‘के यी अक्षर यसका हैनन् त ?’ स्कुल–फस्ट हुने विद्यार्थीको अक्षर कुन शिक्षकले चिन्दैनन् र ? तर, सञ्जीव भन्दै थिए, ‘ती अक्षर मेरा हुँदै हैनन् । कसैले मेरा अक्षरको नक्कल गरेको हुन सक्छ ।’ तर, कुनै शिक्षक उनको तर्क सुन्नेवाला थिएनन् । अन्त्यमा सञ्जीवले भने, ‘नपत्याए कृष्णलाई सोध्नु, यी अक्षर मेरा हुन् कि हैनन् !’
हेडमास्टर ठूलो स्वरले चिच्याए, ‘कृष्ण भट्टराईलाई यहाँ बोला ।’
म भीड छिचोल्दै अफिसभित्र पसें । हेडमास्टरले त्यो कागज मलाई देखाए, ‘भन् यी अक्षर कसका हुन् ?’
मैले कागज हेरें । अक्षर शतप्रतिशत सञ्जीवका थिए । तर, मैले दायाँबायाँ केही सोचिनँ । तुरुन्त भनें, ‘खै कसका हुन् ! म चिन्दिनँ सर ।’
मेरो कुराले अफिसको वातावरण शान्त भयो । सायद सरहरूले मबाट त्यस्तो उत्तरको आशा गरेका थिएनन् । हेडमास्टरले फेरि सोधे, ‘नडराई, नढाँटी भन् । के यी सञ्जीवका अक्षर होइनन् ?’ मैले उसैगरी निर्भीक भएर भनें, ‘हैनन् । यी अक्षर सञ्जीवका हैनन् ।’
मुद्दा अलमल्ल पर्‍यो । हेडमास्टरले सबै विद्यार्थी र शिक्षकलाई कक्षाकोठामा पठाए । सञ्जीवलाई पनि पठाए । र, मलाई एक्लै पारेर फकाए । तर, मैले आफ्नो बयान पटक्कै फेरिनँ ।
अन्त्यमा मलाई पनि हेडमास्टरले कक्षामा पठाए । त्यसबेलासम्म पनि किन सञ्जीवलाई त्यसरी केरेका हुन्, बुझेको थिइनँ । कक्षामा आएपछि थाहा पाएँ– फुटबल खेल्ने साथीहरूको प्याण्ट लुकाउने र धम्कीपूर्ण चिट्ठी लेख्ने आरोप सञ्जीवलाई लागेको रहेछ । अक्षरबाट उनी पक्राउ परेका रहेछन् ।
स्कुल छुट्टीपछि म सञ्जीवसँगै उनको घर गएँ । बाटोमा मैले उनलाई सोधें, ‘सबै कुरा सत्य भन । त्यो प्यान्ट लुकाउने र धम्कीपूर्ण चिट्ठी लेख्ने तिमी नै हौ ?’ सञ्जीवले सानो स्वरमा भने, ‘हो, त्यो सबै मैले नै गरेको हुँ ।’ म अब झन् तीन छक्क परें । सँगैको साथीले लगातार त्यसो गरिरहेको कुरासमेत मलाई थाहा रहेनछ । पछि घरमा गएर उनले सबै घटना डा. बालाई फरर्र सुनाए । बा ट्वाँ परेर हेरेको हेर्‍यै भए ।
सञ्जीवको कल्पना र प्रयोग गर्ने शैली बाल्यकालदेखिकै हो । आज पनि उनी आफ्नो लेखनमा निरन्तर प्रयोग गरिरहन्छन् । सञ्जीवले मलाई सधैँ छक्क पारे । आज पनि पारिरहेकै छन् । ‘आलु, नौनी र कफी’ मा एक छक्क, ‘घनचक्कर’ मा दुई छक्क, ‘हंस’ मा तीन छक्क ! उनको पछिल्लो किताबको नाम ‘हाँसको कथा’ थियो । पछि त्यो छापिँदा ‘हंस’ भएछ । ‘हंस’बारे त मैले लेख्नै बाँकी छ । कुनै दिन लेखुँला ।

कोसेली

प्रेम : एक भोजन कविता

- विनोदविक्रम केसी

मायालु !
तिमी आयौ
क्या मीठो सरलतासित आयौ
नुन–पिरो ट्वाक्क मिलाएर आयौ जिन्दगीमा...

तिमी आयौ
त्यस्तो असाधारण केही आएन
ऋतु दुर्घटना गराउँदै
शिशिरमै वसन्त आएन

अँध्यारै थियो औँसीको रात
चन्द्रमा आएन
कुनै दरबारिया कवि
या मुसाहिब सायरले
आह्वान गर्दैमा
शयनकक्षमै आइपुग्ने
के चन्द्रमाको इमान
त्यति फितलो हुन्छ ?

तिमी आयौ
जुन सडक हुँदै
उस्तै थियो त्यो, रुखो–रुखो
धूवाँधूलो अनि
उच्चाटलाग्दा छिरबिरे छालहरू गाडीका
तिमी आयौ
फूलहरुको नाचमग्न लस्कर आएन

मायालु !
तिमी आयौ
महिनौंपछि मजदुरको भान्छामा मासु आयो
हेर, उसका लालाबालाका आँखामा
क्या स्वादिलो चमक आयो
तिनका तृप्तिका पाइलाहरु पुग्नेछन् जहाँसम्म
त्यहाँसम्म फैलिएको हुनेछ
हाम्रो प्रेमको भूगोल

तिमी आयौ
नवजात शिशुको मुखमा
आमाको दूधको मुन्टो आयो
‘हंगर इन्डेक्स’ को चपेटामा परेर
प्रति पाँच सेकेन्डमा
भोकले मर्छ रे एउटा बच्चा
तिमी आयौ
र, एउटा बच्चाको ज्यानमा ज्यान आयो

तिमी आयौ
गुँडमा
बचेराहरुका लागि
व्यग्र माउको चुच्चो आयो
ती हुर्किनेछन्, उड्नेछन् एक दिन
र, मास्न उद्यतहरुका हातबाट
एक छिनलाई भए पनि
तिनले खोस्नेछन् पर्यावरण
जहाँ हाम्रो प्रेमले पाउनेछ
हावा, अन्न र पानी

तिमी आयौ
मानौँ, दूर देशको शरणार्थी शिविरमा
खानेकुरा बोकेर ट्रक आयो
आत्मा खोसिएकाहरुले
पुनः आत्मा हासिल गरे
र, हाम्रो प्रेमले एकसाथ रूँदै–हाँस्दै
धारण गर्‍यो
क्या सरस पागलपन

अन्नको अनादर गर्नेहरु खुंखार हुन्छन्
प्रेम गर्नु तिनीहरुको वशमा हुँदैन
जस्तो कि, करोडौं टन अन्न
खेर फाल्ने अमेरिकालाई
युगौँदेखि मान्छे खाने बानी परेको छ
मान्छे खानेले
मरिगए प्रेम गर्दैन

मायालु ! 
म असाध्यै आदर गर्छु
अन्न र प्रेमलाई
किनभने,
दुनियाँमा हरेक रात
सातमध्ये
भोकै सुत्ने एक जना
कहिलेकाहीँ मै पनि हुन सक्छु
त्यतिखेर तिम्रो प्रेम पाइनँ भने
मेरो भागमा पर्नेछैन
अर्को सूर्योदय
अर्को आशा
र, अर्को मिठास ।