You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

पोखरा र लुम्बिनी रेललाई ७ खर्ब

- विमल खतिवडा

(काठमाडौं) - काठमाडौं–केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको छ । त्यसअनुसार काठमाडौंबाट कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्‍याइने रेलमार्ग बनाउन करिब ७ खर्ब रुपैयाँ लाग्ने देखिएको छ । त्यसको निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
चीनका दुई सरकारी कम्पनीले नेपालको रेल विभागलाई गत मंसिरमा काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएका थिए । अध्ययनपछिका कार्य कसरी अघि बढाउने भन्ने विषय भने हाल छलफलकै चरणमा रहेको विभागले बताएको छ ।
चीनको रेलवे इन्जिनियरिङ डिजाइन एन्ड कन्सल्टिङ ग्रुपले काठमाडौं–पोखरा र चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले कुरिनटार–भरतपुर–लुम्बिनीको अध्ययन गरेका हुन् । रेल विभागका महानिर्देशक बलराम मिश्रले चीन सरकारको खर्चमा पूर्वसम्भाव्यता अध्ययन भएको बताए ।
पोखरा र लुम्बिनीतर्फ लैजाने रेलमार्ग केरुङ हुँदै काठमाडौं ल्याउने अर्को रेलमार्गसँग टोखामा जोड्नुपर्ने अध्ययनले देखाएको छ । यसकारण पोखरा र लुम्बिनीतर्फ जाने रेलमार्गको सुरु विन्दु टोखा हुनेछ । टोखादेखि–पोखराको लम्बाइ १६८ दशमलव ३३ किमि रहनेछ । ‘यो रेलमार्गबाट दुई घण्टामा पोखरा पुगिनेछ,’ मिश्रले भने । यो रेलमार्ग निर्माणमा ३ खर्ब ९० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । ‘यो खण्डमा धेरै सुरुङमार्ग बनाउनुपर्ने अध्ययनले देखाएको छ,’ मिश्रले भने, ‘त्यसैले लागत बढ्ने भएको हो ।’
टोखा–पोखरा रेलमार्गमा १३ वटा स्टेसन रहनेछन् । १० वटा सुरुङमार्ग हुने र तिनको लम्बाइ ४९ किमि रहने अध्ययनले देखाएको छ । भौगोलिक अवस्थाअनुसार २ देखि ९ किमिसम्मका सुरुङमार्ग निर्माण गर्नुपर्ने भएको हो । यो रेलमार्गमा ५४ पुल बनाउनुपर्छ । सबै पुलको लम्बाइ २६ किमि रहनेछ ।
कुरिनटार–भरतपुर–लुम्बिनी रेलमार्गको दूरी १५५ दशमलव ६६ किमि रहने अध्ययनमा देखिएको छ । यसको लागत ३ खर्ब रुपैयाँ अनुमान गरिएको छ । यो मार्गमा १४ वटा स्टेसन रहनेछन् । ‘काठमाडौंबाट एउटै लाइन कुरिनटारसम्म जानेछ,’ महानिर्देशक मिश्रले भने, ‘त्यहाँबाट दुईतिर रेलमार्ग छुट्टिने गरी निर्माण गर्नुपर्नेछ ।’ यो खण्डमा सुरुङ र पुलको दूरी २३/२३ किमि रहनेछ । त्यसमा ४६ वटा पुल र चार सुरुङमार्ग रहनेछन् । ‘पहिलो चरणमा काठमाडौं–पोखरा रेलमार्ग जोड्न खोजिएको हो,’ उनले भने, ‘त्यसपछि लुम्बिनी जोड्ने योजना छ ।’ यो रेलमार्ग निर्माण भएपछि काठमाडौंबाट तीन घण्टामा लुम्बिनी पुगिनेछ ।
गत असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि दुई देशको संयुक्त विज्ञप्तिमा काठमाडौं–पोखरा र लुम्बिनी रेलमार्गको प्रक्रिया अघि बढाउने प्रतिबद्धता गरिएको थियो । ‘काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग परियोजनामा सहकार्य बढाउन दुवै पक्षले आफ्नो प्रतिबद्धता दोहोर्‍याए,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । यो रुटको रेलमार्ग नेपाली जनताले हेर्न चाहेको राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसमक्ष बताएकी थिइन् । ‘रेलवे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको चाहना छिट्टै पूरा हुनेछ भन्नेमा हाम्रो विश्वास छ,’ सीका लागि आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै उनले भनेकी थिइन् । चिनियाँ राष्ट्रपति सीले नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका थिए । उनले केरुङ–काठमाडौं रेलमार्ग आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका थिए ।
लामो समयदेखि चर्चामा रहेको काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडो गराउन पनि पहल भइरहेको रेल विभागले जनाएको छ । डीपीआरसरह मानिने तर चीनले भन्ने गरेको सम्भाव्यता अध्ययनको कार्य अघि बढाउन गत मंसिरमा दुई देशका अधिकारीबीच ‘मिटिङ अफ माइन्युट’ तयार भइसकेको छ । ‘अब काम सुरु हुन धेरै ढिला नहोला,’ महानिर्देशक मिश्रले भने ।
काठमाडौं–केरुङ रेलमार्ग निर्माणमा करिब ३ खर्ब लाग्ने अनुमान छ । ७२ किमि दूरीको यो रेलमार्गमा ९८ प्रतिशत सुरुङ निर्माण गर्नुपर्ने पूर्वसम्भाव्यता अध्ययनले देखाएको छ । ‘पहाड धेरै भएकाले सुरुङको विकल्प नभएको हो,’ मिश्रले भने । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला ७२ किमि दूरीको यो रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

समझदारीअनुसार कार्यप्रारम्भको विस्तृत माइन्युट दुई देशका अधिकारीबीच तयार भइसकेपछि पनि काम सुरु भएको छैन । अध्ययनका लागि चिनियाँ कम्पनी फर्स्ट सर्भे एन्ड डिजाइन अफ इन्स्टिच्युटलाई परामर्शदाताका रूपमा छानिएको मिश्रले जानकारी दिए । नेपाल–चीनबीच २०१८ जुन २१ मा यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको थियो ।
टोखा–छहरे सुरुङमार्ग अध्ययन सुरु
काठमाडौं–केरुङ सडकमार्गलाई सुविधाजनक बनाउन गरिएको समझदारी पनि कार्यान्वयन चरणमा प्रवेश गरेको छ । चीनबाट आएको अर्को एक प्राविधिक टोलीले काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन थालेको छ ।
सुरुङमार्गका लागि आएको नौ सदस्यीय चिनियाँ विज्ञ टोलीले स्थलगत अध्ययन थालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । ‘टोली मंगलबार आएको हो, अहिले फिल्डमा काम गरिरहेको छ,’ उनले भने, ‘उनीहरूलाई सघाउन हाम्रो इन्जिनियरको टोली पनि साथै छ ।’
विज्ञ टोली एक महिनासम्म बस्ने उनले बताए । चीन सरकारले आफ्नै खर्चमा यो प्राविधिक अध्ययन गरिरहेको हो । टोलीले सुरुङमार्गको स्थलगत अवलोकन तथा प्राविधिक अध्ययन, तथ्यांक संकलन गर्ने र गल्छी–बालाजु सडक हेर्नेछ । बस्ती र पहाड सर्वेक्षण गर्ने योजना छ । यो सुरुङमार्ग सात किमिको रहने अनुमान छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणकै क्रममा यो सुरुङमार्गको सर्वेक्षण र त्यसपछि निर्माण गर्ने सम्झौता भएको थियो । यो सुरुङमार्ग निर्माण भएपछि काठमाडौंदेखि केरुङसम्म ४० किमि दूरी छोटिने अनुमान छ । अहिले काठमाडौंबाट केरुङ जान १२० किमि दूरी पार गर्नुपर्छ  ।
पूर्व–पश्चिम रेलमार्गको पुनः डीपीआर
नेपाल सरकारले नै अघि बढाइरहेको ९४५ किमिको पूर्व–पश्चिम विद्युतीय रेलमार्गको डीपीआर पुनः बनाउनुपर्ने भएको छ । सुरुको डीपीआरअनुसार पर्सा र चितवन राष्ट्रिय निकुञ्जबाट रेलमार्ग पर्ने भएपछि त्यसको विकल्पमा उक्त खण्डको १३६ किमि डीपीआर फेरि गर्नुपर्ने भएको हो । ‘निकुञ्जले गर्दा पहिलाको ट्र्याक परिवर्तन गर्नुपर्ने भयो,’ महानिर्देशक मिश्रले भने, ‘विस्तृत सम्भाव्यता अध्ययनका लागि सरकारबाट निर्णय भइसकेको छ ।’
सुरुको अध्ययनअनुसार बाराको सिमरा–पर्सा–चितवन निकुञ्ज हुँदै रेलमार्ग नवलपरासीको तमसरिया निकालिएको थियो । अब बाराको निजगढबाट हेटौंडा–भरतपुर हुँदै तमसरिया निकालिनेछ । ‘केही ठाउँमा सुरुङ निर्माण गर्नुपर्ने भएकाले पहिलाभन्दा लम्बाइ घटेको छ,’ मिश्रले भने । उनले डीपीआरका लागि सम्झौता भइसकेको पनि जानकारी दिए । अन्य खण्डको भने डीपीआर सकिएको छ । यो मार्गको महोत्तरीको बर्दिबासदेखि बाराको निजगढ खण्डमा काम भइरहेको छ । ७० किमिमध्ये ३५ किमिको काम सकिएको छ । ‘ट्र्याकबेल्ट निर्माणको काम सकिएको छ,’ महानिर्देशक मिश्रले भने, ‘केही पुल निर्माण भइसकेका छन् । केही निर्माणका क्रममा छन् ।’ यसैगरी भारतले ५ वटा सीमा क्षेत्रमा रेलमार्ग निर्माण गरिरहेको छ ।

मुख्य पृष्ठ

कालीमाटीको जग्गा पनि सस्तैमा यतिलाई

- कान्तिपुर संवाददाता
नेपाल ट्रस्टको राजधानीको कालीमाटीस्थित चार रोपनी जग्गा (रातो घेरामा), जुन कानुन मिचेर यति समूहलाई लिजमा दिएको भेटिएको हो ।

(काठमाडौं) - नेपाल ट्रस्टको कार्यालयले राजधानीको कालीमाटीस्थित चार रोपनी जग्गासमेत कानुन मिचेर यति समूहलाई लिजमा दिएको भेटिएको छ । ट्रस्टले ३० वर्षमा करिब १९ करोड रुपैयाँ भाडा लिने गरी यति समूहको थामसेर्कुसँग सम्झौता गरेको हो ।
राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रस्टका कार्यकारी सचिव गजेन्द्र ठाकुरले कालीमाटीको जग्गा थामसेर्कुलाई भाडामा दिइएको बताए । ‘नेपाल ट्रस्टको कार्यालयले टेन्डर निकालेको थियो, प्रतिस्पर्धा हुँदा थामसेर्कुले नै ट्रस्टलाई बढी लाभ हुने गरी आर्थिक प्रस्ताव गर्‍यो,’ उनले भने, ‘सम्झौता भइसकेको छ । तर काठमाडौं महानगरपालिकाले नक्सापास गरेको दिनदेखि मात्रै अवधि गणना हुन्छ ।’
सचिव ठाकुरले कानुनसम्मत प्रतिस्पर्धाबाट थामसेर्कु छानिएको दाबी गरे पनि नेपाल ट्रस्टको अभिलेखले त्यसको पुष्टि गर्दैन । थामसेर्कु र क्लिन इन्फ्रास्ट्रक्चर प्रालिले प्रस्ताव पेस गरेकामा थामसेर्कु छानिएको कार्यालयका सूचना अधिकृत अमृत महर्जनले बताए । टेन्डर प्रक्रिया पूरा हुन कम्तीमा तीनवटा कम्पनीले प्रतिस्पर्धा गर्नुपर्छ । निर्णय हुँदा अर्जुनबहादुर कार्की सचिव र लेखबहादुर कार्की सहसचिव थिए । दुवैजना दरबारमार्गको विवादास्पद लिज प्रक्रियामा पनि सामेल थिए ।
लागत अनुमानभन्दा बढी नै आम्दानी हुने निर्क्योल भएपछि थामसेर्कुलाई लिजमा दिइएको ट्रस्टका सचिव ठाकुरले पत्रकार सम्मेलनमा बताए । तर सूचना अधिकृत महर्जनले ठेक्का स्वीकृत भएपछि मात्र कति तले भवन बनाउने भनेर काठमाडौं महानगरपालिकासँगको छलफल र परामर्शमा तय हुने बताए । ‘कत्रो भवन बन्छ र त्यसबाट कति आम्दानी हुन्छ भन्ने नै थाहा नपाई के आधारमा अनुमानित लागत बनाए ?’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो ।
प्रतिनिधिसभाको चुनाव सकिएर नयाँ सरकार बनिनसकेको संक्रमणकालीन अवधिमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रस्टको अध्यक्ष रहेका बेला ०७४ माघ १२ गते थामसेर्कुलाई लिजमा दिने निर्णर्य भएको हो । सत्ता साझेदार दल तत्कालीन माओवादी केन्द्रले चुनाव सकिएपछि सरकार छाडेको थियो ।

तत्कालीन माओवादीबाट गृहमन्त्री बनेका जनार्दन शर्मासहितले सरकार छाडेपछि प्रधानमन्त्री देउवाले नै गृह मन्त्रालय सम्हालेका थिए । गृहमन्त्रीसमेतको जिम्मेवारी रहेकाले ट्रस्ट सञ्चालक समितिको अध्यक्ष देउवा नै थिए । दरबारमार्गको जग्गा लिजमा दिने निर्णय भएको करिब १० महिनापछि कालीमाटीको जग्गामा सम्झौता भएको देखिन्छ ।
काठमाडौं महानगरपालिका–१३ मा पर्ने ट्रस्टको स्वामित्वको जग्गा तीन कित्ताको छ । जुन २१९१ वर्गमिटर अर्थात् ४ रोपनी ५ आनाको छ । यो जग्गा दरबारमार्गमा रहेकोभन्दा दोब्बर बढी हो । भवनको अग्लोपन भूबनोटका साथै जग्गाको क्षेत्रफलमा समेत निर्भर हुन्छ । एक आर्किटेक्चर इन्जिनियरका अनुसार दरबारमार्गको जग्गामा ५ तले भवन बनाउन मिल्छ भने कालीमाटीमा त्योभन्दा बढी अग्लो भवन निर्माण हुन्छ । ‘क्षेत्रफल पनि दोब्बर छ । भवन पनि अग्लो हुने भयो,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘झन्डै १९ करोड रुपैयाँमा ३० वर्षका लागि लिजमा दिनु कौडीको मोलमा दिएसरह हो ।’ दरबारमार्गमा भने ट्रस्टले ३० वर्षमा एक अर्ब ४० करोड रुपैयाँ तिर्ने सम्झौता गरेको थियो ।
ट्रस्टको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार निर्माण सुरु भएपछिका तीन वर्षमा थामसेर्कुले ६ लाख रुपैयाँका दरले १८ लाख रुपैयाँ ट्रस्टलाई बुझाउनेछ । त्यसपछिका ६१ लाख ४४ हजार रुपैयाँका दरले ५ वर्ष भाडा बुझाउनेछ । भाडादर बुझाउँदै जाँदा अन्तिम २९ र ३० औं वर्षमा ७८ लाख ४१ हजार रुपैयाँका दरले बुझाउनेछ । ३० वर्षको अवधिमा ट्रस्टले कुल रकम १८ करोड ७२ लाख रुपैयाँ पाउनेछ ।

Page 2
समाचार

एक्लै अघि बढे देउवा

पौडेल र सिटौला पक्षको बहिष्कारका बीच देउवाले केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका तय गर्नेसहितका निर्णय लिएपछि कांग्रेसमा विवाद झन् चुलिएको छ
- कुलचन्द्र न्यौपाने

(काठमाडौं) - कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारका बीच शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७–१० मा केन्द्रीय महाधिवेशन र पुससम्ममा तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका ल्याएको छ । बैठकले विभागको संख्या बढाउने, तरुण दलको म्याद थप्ने र केन्द्रीय पदाधिकारीसहित सदस्यहरूको कार्यकाल एक वर्ष बढाउने निर्णय पनि गरेको छ । नेविसंघ गठनका विषयमा भने बैठकले निर्णय लिएको छैन ।
सभापति शेरबहादुर देउवाले बहुमतबाट १४ औं महाधिवेशनको कार्यतालिकासहितका विषयमा निर्णय लिएपछि पौडेल र सिटौला पक्ष आक्रोशित भएका छन् । सबै विषयमा एकमुष्ट सहमतिको प्रयास चलिरहेका बेला एकपक्षीय निर्णय गरिएको भन्दै उनीहरूले देउवाको नेतृत्वमा हुने महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । पौडेलले महाधिवेशनलाई आफ्नो कब्जामा पार्ने नियतबाट एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका ल्याइएको बताए । उनले सभापतिको निर्णयमा महाधिवेशनलाई अझै पर धकेल्ने नियत रहेको समेत दाबी गरे । ‘वार्तालाई सहमतिमा नपुर्‍याईकनै एकलौटी ढंगले निर्णय गरेर शेरबहादुरजीले पार्टीलाई संकटतिर धकेल्नुभएको छ,’ उनले भने, ‘उहाँले पहिला पनि पार्टीलाई संकटमा पार्नुभएको हो । यसप्रति हामी घोर आपत्ति प्रकट गर्छौं ।’
सिटौलाले पनि बहुमतबाट कार्यकाल थप गर्ने र महाधिवेशनको कार्यतालिका ल्याउने निर्णय गराएर सभापति देउवाले १४ औं महाधिवेशन कब्जा गर्न खोजेको आरोप लगाए । ‘आफ्नो गुटका आधारमा निर्णय गराएर सभापतिजीले महाधिवेशन कब्जा गर्न खोज्नुभएको छ । इतिहासको कुनै पनि कालखण्डमा सभापतिले एकलौटी रूपमा महाधिवेशनको कार्यतालिका ल्याएका थिएनन्,’ उनले भने, ‘यो निर्णयले गुटका सदस्यको अहंकार बढेको होला तर समग्रमा कांग्रेस कमजोर भएको छ । कांग्रेस कमजोर भएको हेर्न चाहनेलाई खुसी बनाएको छ ।’
पार्टीको निर्णयको विरोध र आफ्नो समूहको दृष्टिकोण सार्वजनिक गर्न पौडेल र सिटौला पक्षले शनिबार पत्रकार सम्मेलन गर्ने जनाएका छन् । देउवाले मंसिर २६ गते केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेको एजेन्डामा महाधिवेशनको कार्यतालिका समावेश थिएन । त्यसैलाई कारण जनाएर पौडेल पक्षले बैठक बहिष्कार गरेको थियो । पौडेल पक्षको बहिष्कारपछि कार्यतालिकासहित पार्टीका विभाग, नेविसंघ र तरुण दललगायतका विषयमा प्याकेजमा सहमति जुटाउन दुवै पक्षको वार्ता टोलीबीच छलफल चलिरहेको थियो । पौडेलले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा दिलेन्द्र बडू र हृदयराम थानी सदस्य रहेको वार्ता समिति बनाएका थिए । देउवाले उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएका थिए ।
भ्रातृसंस्था नेविसंघमा कति महामन्त्री राख्ने भन्नेमा दुवै पक्ष टसमस नभएपछि ‘प्याकेज’ मा सहमति जुटाउने प्रयास लम्बिँदै गएको थियो । सहमतिका लागि यसअघि तीन पटकसम्म बैठक स्थगित गरिएको थियो ।
पार्टी विधानमा विशेष परिस्थितिका कारण महाधिवेशन गराउन नसके एक वर्षको कार्यकाल बढाउन सकिने व्यवस्था छ । त्यसैमा टेकेर देउवाले एक वर्ष कार्यकाल बढाउने निर्णय केन्द्रीय कार्यसमितिबाट गराएका हुन् । विधानअनुसार थपिएको एक वर्षभित्र महाधिवेशन नगराई संविधानको प्रावधानमा टेकेर थप ६ महिनासमेत थप्न खोजिएको आशंका पौडेल पक्षको छ । देउवाले थपिएको कार्यकालको अन्तिम फागुन महिनामा केन्द्रीय महाधिवेशनको तालिका ल्याउनुले आफूहरूले उठाउँदै आएको आशंकालाई बल पुर्‍याएको केन्द्रीय सदस्य रामशरण महतले बताए ।


महाधिवेशनको कार्यतालिका र केन्द्रीय कार्यसमितिको म्याद थप्नेजस्तो निर्णय बहुमतबाट गराउन नहुने भन्दै उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलगायत केही सदस्यहरूले अन्तिम घडीसम्म देउवालाई मध्यमार्गी सहमतिको प्रयासमा लाग्न सुझाए पनि बहुमत सदस्यले पार्टीलाई लामो समय अनिर्णयको बन्दी नबनाउन दबाब दिएका थिए । ‘पार्टीभित्र बृहत् एकताकै लागि जोड दिनुपर्छ, सहमतिबाटै अघि बढ्नुपर्छ, एक नभईकन अहिले चौतर्फी खडा भएका चुनौती सामना गर्न सकिन्न,’ कार्कीले भने, ‘अहिले खडा भएका विवाद र आशंकालाई संवादमार्फत हल गर्न सकिन्छ ।’
महतले सहमतिका लागि भइरहेको प्रयासलाई भत्काएर सभापतिले एकलौटी निर्णय गरी पार्टीलाई कमजोर बनाएको बताए । उनले विधानविपरीत विभागको संख्या थप्ने, विभाग गठन गर्ने, नेविसंघ गठन गर्नेजस्ता कार्य अघि बढाएर महाधिवेशनलाई प्रभावित गर्न लागेको बताए । ‘सभापतिको एकलौटी निर्णय घोर आपत्तिजनक छ, इतिहासमै यस्ता गलत निर्णय भएका छैनन्,’ महतले भने, ‘आगामी महाधिवेशन निष्पक्ष रूपमा हुन नदिने र आफ्नो प्रभावमा पार्नका लागि सभापतिले यस्तो निर्णय गराएका हुन् । हामीलाई अब महाधिवेशन निष्पक्ष हुन्छ भन्नेमा विश्वास छैन ।’
पूर्वमहामन्त्री सिटौलाले शुक्रबारको निर्णयपछि पार्टी नेताहरूबीच एक ठाउँमा बसेर छलफल गर्ने वातावरणको अन्त्य भएको बताए । ‘यो निर्णयले पार्टीका नेताहरू एक ठाउँमा बसेर छलफल गर्ने वातावरण अन्त्य गराएको छ, पार्टीलाई ठूलो क्षति पुर्‍याएको छ,’ उनले भने, ‘बृहत् एकता चाहिने बेलामा इतिहासमा कुनै पनि सभापतिले नगरेको कदम शेरबहादुरजीले उठाउनुभएको छ । यो आपत्तिजनक छ ।’
दबाबपछि बैठक सञ्चालन
बैठक १ बजे बोलाइएको थियो । सुरु भने अपराह्न साढे ५ बजे मात्रै भयो । सभापति देउवा र उनीपक्षीय केन्द्रीय सदस्य बोलाइएको समयभन्दा आधा घण्टा ढिलो केन्द्रीय कार्यालय सानेपा पुगेका थिए । त्यतिबेला वरिष्ठ नेता पौडेलपक्षीय केन्द्रीय पदाधिकारीसहित सदस्यहरूको बैठक पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा चलिरहेको थियो । १२ बजे बसेको चाक्सीबारीको बैठकले सबै विषयमा सहमति नजुटेसम्म बैठकमा नजाने निर्णय गर्‍यो । त्यसपछि देउवा बैठक चलाउने कि नचलाउने भन्ने अप्ठ्यारोमा परे ।
देउवाले निवासबाटै सिंहलाई टेलिफोन गरे । सिंहले नेविसंघमा साठी र चालीस प्रतिशतमा सहमति जुटाउन आग्रह गरे । देउवाले प्रतिप्रश्न गर्दै भने, ‘तपाईंहरू चालीस प्रतिशत माग्नुहुन्छ, सिटौलालाई के गर्ने ?’
सिंहले भने, ‘१३ औं महाधिवेशनमा उहाँ तपाईंकै पक्षमा हुनुहुन्थ्यो । मिलाउने जिम्मेवारी तपार्इंको हो ।’ सिंहसँग कुराकानीपछि देउवा सहमति नहुने संकेत बुझेरै पार्टी केन्द्रीय कार्यालय सानेपा हान्निए । पार्टी केन्द्रीय कार्यालय सानेपाको आफ्नै कार्यकक्षमा उनी केहीबेर पदाधिकारीसँग छलफलमा जुटे । देउवापक्षीय केन्द्रीय सदस्यहरू माइन्युट बुकमा उपस्थिति जनाएर समोसा र चिया खाँदै थिए । उपसभापति विजय गच्छदारले चालीस प्रतिशत दिएर भए पनि सहमतिमै अघि बढ्न देउवालाई सुझाए । केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेरै सहमति जुटाउनुपर्ने सुझाव उनको थियो । त्यस्तै सुझाव महामन्त्री खड्का र कार्कीलगायत नेताले पनि दिएका थिए ।
देउवाले सानेपाबाटै पौडेलपक्षीय अर्का सदस्य दिलेन्द्र बडूलाई टेलिफोन गरे । उनले पनि नेविसंघमा चालीस प्रतिशतकै कुरा अघि सारे । पार्टीलाई लामो समय अनिर्णयको बन्दीमा राख्न नहुने भन्दै मंसिर २६ गते प्रस्तुत एजेन्डा बहुमतबाटै निर्णय गराउनुपर्ने चर्को दबाब देउवालाई आफ्नो पक्षका बहुमत सदस्यको थियो । त्यही दबाब थेग्न नसकेपछि उनले बैठक सुरु गरेका थिए ।

समाचार

गोकर्ण जग्गाको निर्णय बचाउमा सचिव

- कृष्ण ज्ञवाली

नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुर र सहसचिव राजेश्वर ज्ञवाली गोकर्ण फरेस्ट रिसोर्टबारे सरकारले गरेको विवादास्पद निर्णयको प्रतिरक्षामा उत्रिएका छन् । निर्णयपछिको आलोचनाबारे प्रधानमन्त्री, मन्त्रीहरू र सत्तारूढ दलका शीर्ष नेताहरू मौन भएका बेला प्रस्ताव पठाउने सचिव ठाकुर र सहसचिव ज्ञवालीलाई शुक्रबार पत्रकारहरूमाझ उभ्याइए । ठट्यौली शैलीमा प्रस्तुत भएका सचिव ठाकुरले अनेक तर्क गरेर विवादास्पद निर्णयको बचाउ गरे । मन्त्रिपरिषद्को निर्णयको आधार र औचित्य पुष्टि गर्न हम्मे परेपछि उनले अनेक किस्सा सुनाएका थिए ।
सचिव ठाकुरले सुरुमा पत्रकारहरूको प्रश्नले नै आफू सफा भएको असान्दर्भिक प्रतिक्रिया दिएका थिए । ‘मेरो शरीरको मयल धुन साबुन चाहिन्थ्यो । मैले त यहाँहरूको प्रश्नले नै मेरो शरीरको मयल धुन सकें,’ ठाकुरले पत्रकार सम्मेलनमा भने, ‘अब सफा भएको छु । साबुन नै चाहिँदैन ।’ आफू कर्मचारी भएकाले राष्ट्रसेवकका रूपमा गर्व गरेको भन्दै उनले सरकारमा ‘को आयो, को गयो’ ले केही फरक नपर्ने बताए । ‘कानुन बनेपछि हामीले अन्धो भएर कानुनबमोजिम गर्ने हो,’ उनले भने, ‘राष्ट्रलाई ७२ हजार डलर फाइदा भएकामा मलाई त गर्व छ । बरु तपाईंहरू ‘प्रि–अकुपाइड’ हुनुभन्दा तटस्थ भएर सोचिदिनुहोस् ।’ करिब ६ वर्ष अवधि बाँकी छँदै म्याद थप्ने निर्णयका साथ परिवर्तन भएको भाडादरले ७२ हजार डलर फाइदा भएको उनको दाबी थियो ।
म्याद नसकिँदै यति समूहलाई थप २५ वर्षका लागि गोकर्ण फरेस्ट रिसोर्ट लिजमा दिने सरकारको निर्णयबारे निरन्तर समाचार आएपछि रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकार सम्मेलन गर्न नेपाल ट्रस्टका सचिव ठाकुर र सहसचिव ज्ञवालीलाई निर्देशन दिएका थिए । ट्रस्टको सञ्चालक समितिका अध्यक्षसमेत रहेका रक्षामन्त्री पोखरेलले बिहीबार राष्ट्रिय सभामा यो निर्णय कानुनसम्मत भएको मात्र बताएका थिए, तथ्यपरक रूपमा मन्त्रिपरिषद्मा लगेको प्रस्तावको बचाउ गर्न सकेका थिएनन् । मन्त्रिपरिषद्मा प्रस्ताव लग्नुअघि उनीसहितको सञ्चालक समितिले त्यसबारे निर्णय
गरेको थियो ।
पत्रकार सम्मेलनमा सचिव ठाकुरले सरकारी जग्गा धमाधम लिजमा दिनुलाई ‘सरकारी–निजी साझेदारीको नयाँ प्रयोग’ भनेर अर्थ लगाइदिए । जमिनबाहेक सबैमा निजी क्षेत्रले लगानी गरेकाले सरकारले फोकटमा लाभ लिएको उनको तर्क थियो । ‘सबैथोक उसको हो । ऋण लिनुपर्ने उसले, घर बनाउनुपर्ने उसले, उसैले बुद्धि लगानी गर्छ । उसको पैसा परेको छ । जोखिम पनि उसको हो,’ ठाकुरले भने, ‘गोकर्णमा जंगल र मृगबाहेक के नै थियो र ? सबैथोक उसको हो, हाम्रो त जग्गाबाहेक केही थिएन । सरकारले त आम्दानी मात्रै लिएको हो । ३० वर्षपछि घर पनि हाम्रो सम्पत्ति हुन्छ ।’
गोकर्णका सबै संरचना एलएम सुभिर ब्रदर्सले बनाएको भन्दै उनले न्यूनतम अंकभन्दा बढी दिन तयार भएको अवस्थामा सञ्चारमाध्यम नकारात्मक हुन नहुने प्रतिक्रिया दिए । निर्णयबाट सरकारी जग्गामा लगानी गर्न मिल्दो रहेछ भनेर विश्वास बढेको भन्दै उनले निजी क्षेत्र उत्साहित भएको दाबी गरे । यतिको ठाउँमा चौधरी, गोल्छालगायत जो कोही आउन सक्ने भन्दै उनले गोकर्णको सम्झौताले नयाँ सन्देश गएको तर्क गरे । उनले भने, ‘सरकारले लेखेर सम्झौता गरेपछि म्याद सकेपछि पनि फेरि दिन्छ
भन्ने सन्देश निजी क्षेत्रमा गएको छ । यसले आशा बढ्छ ।’
सरकारले मात्रै विकास निर्माणका काम गर्नुपर्छ भन्ने आम धारणा गलत भएको भन्दै उनले नेपाल ट्रस्टमार्फत निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार ‘बामे सर्न खोजिरहेको’ प्रतिक्रिया दिए । केबलकार लगायतमा निजी क्षेत्रको लगानी बढेको उल्लेख गर्दै उनले विभिन्न मुलुकमा सरकारी सम्पत्ति लिजमा दिने अभ्यास चलिरहेको र नेपालले बल्ल प्रयोग थालेको बताए । सचिव ठाकुरले संकेत गरेको केबलकार ताप्लेजुङको प्रस्तावित परियोजना हो । यति समूहले नै लगानी गर्न लागेको उक्त परियोजनाको स्थलगत निरीक्षणपछि फर्किने क्रममा यतिका सञ्चालक आङछिरिङ शेर्पासहित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको थियो ।
आफूले कुनै गलत काम नगरेको भन्दै उनले छानबिन सामना गर्न तयार हुने बताए । आफूभन्दा अघिल्लो कार्यकालमा भएका कामको पनि आफूले बचाउ गर्ने उनले बताए । उनले भने, ‘त्यसरी बचाउ नगर्ने हो भने म पहिले बसेका ठाउँमा गरेको कामकारबाहीको कसले संरक्षण गरिदिने ?’ खानेपानी मन्त्रालयको सचिव हुँदा ठाकुर मेलम्ची आयोजनाको रकम भुक्तानी र अवधि थपको विवादमा मुछिएका थिए ।
पत्रकार सम्मेलनमा सचिव ठाकुरले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनलाई सांकेतिक रूपमा ‘झूटो’ भनिदिए । ‘उहाँहरूले लेखापरीक्षण गर्दा सबै कागजात हेर्नुभएन,’ उनले भने, ‘संवैधानिक अंगले सबै कागजात हेरेन । मैले महालेखामा गएर भनेपछि सबै सम्परीक्षण हुन्छ । तपाईं पत्रकारहरू सरकारी जागिर नगरेकाले यस्ता कुरा थाहा पाउनुहुन्न ।’ दरबारमार्गको जग्गा झन्डै ७ करोड रुपैयाँमा लिज सम्झौता हुनुपर्नेमा एक करोड ४० लाख रुपैयाँमा मात्रै सम्झौता गरेको भनी महालेखाले प्रश्न उठाएको थियो । त्यसमै ठाकुरले ‘प्रतिवेदन सही नभएको’ भनी प्रतिक्रिया दिएका हुन् ।
उनले तत्कालीन कानुनमन्त्री भानुभक्त ढकालतर्फ संकेत गर्दै ट्रस्टको प्रस्तावबिना सोझै कानुन मन्त्रालयले प्रस्ताव पठाएको बताए । राजनीतिज्ञहरूले नै कानुनबारे निर्णय गरेको भन्दै उनले त्यसबारे आफूलाई नसोध्न आग्रह गरे । मन्त्रिपरिषद्को निर्णयबारे थाहा नभएर आफूले केही प्रतिक्रिया नदिएको उनको दाबी थियो ।
सचिव ठाकुरले बुधबार अपराह्न मन्त्रिपरिषद्को निर्णयबारे चिठी आएपछि बिहीबार सञ्चालक समितिका सदस्यहरूसँग छलफल गरेर पत्रकार सम्मेलन गरेको बताए । मन्त्रिपरिषद्को निर्णय जसरी पनि कार्यान्वयन हुने भन्दै उनले त्यसो नभए मुलुकमा ‘अराजकता उत्पन्न हुने’ प्रतिक्रिया दिए । ट्रस्टका सदस्य सचिवसमेत रहेका सहसचिव ज्ञवालीले एलएम सुभिर ब्रदर्समार्फत यति समूहले गोकर्णको संरक्षण गरेको दाबी गरे । उनले भने, ‘समयमा निर्णय नभए पाँच वर्षपछि गोकर्ण गाई चराउने मैदान हुन्छ । अहिले संरक्षण भएको छ । त्यहाँ केही गरी खाली भयो भने सुकुम्बासीहरू आएर बस्थे । त्यसको जिम्मा कसले लिने ?’
सरकारले गोकर्णको निर्णयबाट लगानीको वातावरण दिने सन्देश गएको भन्दै छानबिन भए आत्मविश्वासका साथ प्रतिरक्षा गर्ने बताए । प्रचलित कानुनका आधारमा लिजमा दिने निर्णय भएको दाबी गर्दै उनले नयाँ सम्झौताबाट मुलुकलाई घाटा नभएको प्रतिक्रिया दिए । उनका अनुसार सुरुमा यति समूहले कम रकम प्रस्ताव गरेपछि त्यसलाई अस्वीकार गरिएको थियो । दोस्रो पटकको प्रस्ताव मात्रै स्वीकृत भएको हो । एस देवकोटा एन्ड कम्पनीले एक करोड ७ लाख डलरभन्दा कममा सम्झौता गर्न नहुने भनी राय दिएकामा यति समूहले एक करोड ८ लाख डलरको प्रस्ताव गरेकाले स्वीकृत भएको उनले बताए ।
गोकर्ण फरेस्ट रिसोर्टबाट राजस्व, रोजगारी, पर्यटनलगायत क्षेत्रमा समेत अप्रत्यक्ष फाइदा पुगेकामा मिडियाले त्यसतर्फ ध्यान नदिएको प्रतिक्रिया दिए । ‘आज नेपालीलाई दिँदा मात्रै बोल्नुभएको छ,’ उनले भने, ‘हिजो त्यसको जिम्मा विदेशीले लिँदा त तपाईंहरू किन केही बोल्नुभएन ?’

 

Page 4
वाग्मती प्रदेश

स्थानीय तह सक्रिय, निजी क्षेत्र सुस्त

- प्रदेश ३ ब्युरो
दोलखा सदरमुकाम चरिकोट र पृष्ठभूमिमा रोल्वालिङ हिमशृंखला । तस्बिर ः राजेन्द्र मानन्धर/कान्तिपुर

(हेटौंडा) - नेपाल भ्रमण वर्ष २०२० सुरु हुन केही दिनमात्रै बाँकी रहँदा प्रदेश ३ सरकारले भ्रमण वर्षको तयारी पूरा भएको जनाएको छ । चिनियाँ र भारतीय पर्यटकलाई सीमा नाकामा स्वागत गर्ने र चितवनमा विशेष कार्यक्रम आयोजना गरी भ्रमण वर्षको उद्घाटन गर्ने सरकारको योजना छ ।
शुक्रबार प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रदेशले भ्रमण वर्षभर गर्ने कार्यक्रमबारे जानकारी दिएको छ । पहिलो दिनको कार्यक्रम चितवनमा गरिने पर्यटनमन्त्री अरुण नेपालले जानकारी दिए । ‘रसुवा/तातोपानी नाकामा र चितवन विमानस्थलमा आउने पर्यटकहरूको विशेष स्वागत हुन्छ,’ उनले भने । प्रदेश सरकारले चितवनमा जारी हात्ती महोत्सवबाट नै भ्रमण वर्षको सुरुवात गर्ने भएको छ । मकवानपुरको इन्द्रसरोवरमा पर्यटक स्तम्भ निर्माण गर्ने र काभ्रेमा सोही दिन शिलान्यास गर्ने तयारी भएको पनि नेपालले जानकारी दिए ।
भ्रमण वर्षको पहिलो दिन चितवन विमानस्थलमा सुरुमा आउने २० पर्यटकलाई जंगल सफारी, हात्ती सफारी र एक रातको प्याकेज प्रदेश सरकारले उपलब्ध गराउनेछ । ‘२०२० देखि २०३० सम्म हामीले पर्यटक पूर्वाधारको रूपमा विभिन्न कार्यक्रम तय गरेका छौं,’ मन्त्री नेपालले भने, ‘सुरुवात भइसकेको छ, विभिन्न जिल्लामा पर्यटन पूर्वाधारका लागि गन्तव्य छनोट गरेर अघि बढ्छौं ।’
प्रदेश ३ सरकारले पर्यटन पूर्वाधार विकासका लागि १३ वटै जिल्लामा पर्यटकीय गन्तव्य पहिचान गर्न जिल्ला समन्वय समितिलाई आग्रह गरेको छ । प्रत्येक जिल्लाका स्थानीय तहलाई बढीमा तीन गन्तव्य पहिचान गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले प्रदेश ३ मा १० वटा हिलस्टेसन निर्माणका लागि काम अघि बढाएको छ । नुवाकोटको ककनी, मकवानपुरको चित्लाङ र दोलखाको मुडेमा काम सुरु भइसकेको छ ।


पर्यटक तान्न नयाँ योजना
भ्रमण वर्षको पूर्वसन्धामा प्रदेश सरकारको पर्यटन मन्त्रालय, जिल्ला समन्वय समिति र पालिकाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । सरकार र स्थानीय तहको तुलनामा निजी क्षेत्र भने त्यति सक्रिय देखिएका छैनन् । चितवन राष्ट्रिय निकुञ्ज प्रमुख पर्यटकीय गन्तव्यमध्ये पर्छ । निकुञ्ज घुम्न देश–विदेशबाट वर्षमा दुई लाखको हाराहारीमा पर्यटक आउने गरेका छन् । यो संख्या दोब्बर बनाउने र निकुञ्जका साथै अन्यत्र रहेका गन्तव्यमा पर्यटक लैजाने अवसर चितवनलाई जुरेको छ । ‘हामीले त्यहीअनुरूप योजना र कार्यक्रम बनाएका छौं,’ चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भने । उनी नेपाल भ्रमण वर्ष २०२० को जिल्ला आयोजक तथा समन्वय समितिका संयोजक हुन् ।
जिल्लाका सातवटै स्थानीय तहमा भ्रमण वर्ष सफल पार्न समिति गठन भएको उनले जानकारी दिए । केही स्थानीय तहले भ्रमण वर्षको तयारी र सफलताका लागि योजना ल्याएका छन् । भरतपुर महानगरपालिकाले महानगरभित्रका सातवटा पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ । जसमा एक दिनदेखि सात दिनसम्म बिताउन सकिन्छ । भ्रमण वर्षमा गरिने ३२ वटा क्रियाकलाप पनि सार्वजनिक भएका छन् ।
चितवनमा होटलहरू पर्याप्त खुलेका छन् । तर ती चल्तीका पर्यटकीय क्षेत्रमा मात्रै सीमित छन् । पाहुनालाई आकर्षित गर्न होटल व्यवसायीबाट के कार्यक्रम र सुविधा प्राप्त हुने छन् भन्ने विवरण अझै आएको छैन । होटल व्यवसायीलाई प्याकेजमा २० प्रतिशतसम्म छुट दिन अपिल गरिएको संयोजक डल्लाकोटी बताउँछन् । जिल्ला स्तरमा भ्रमण वर्षको अवसरमा चारवटा मुख्य गतिविधि हुनेछन् । ‘सौराहाबाट पुस १६ गते भ्रमण वर्षको घोषणा गर्ने कार्यक्रम छ । भरतपुर महानगरले नारायणी किनारमा जिल्लाका जाति जनजातिको सांस्कृतिक महोत्सव गर्दै छ । त्यसैगरी माडी क्षेत्रलाई समेटेर सोमेश्वरगढीमा ठूलो राष्ट्रिय झन्डा फहराउने कार्यक्रम तय भएका छन्,’ डल्लाकोटीले भने । चितवनमा उपरदाङगढी, इच्छाकामाना मन्दिर, सिराइचुली, लामो झरना, चित्राम झरनाजस्ता प्राकृतिक दृश्य हेर्न पाइने पहाडी पदमार्गमा पर्यटक लोभिन सक्ने अनेक ठाउँ छन् । लालीगुराँस फुलेर वन नै राताम्मे भएका बेला फागुन–चैत्रतिर त्यो क्षेत्रमा ट्रेकिङ लैजाने कार्यक्रम बनाइएको छ । चितवन आउने पर्यटक प्रायः निकुञ्ज गएर दुर्लभ वन्यजन्तु बाघ, गैंडा, घडियाल हेर्न पाउँछन् । देवघाटजस्तो तीर्थस्थलसँग चितवन जोडिएको छ । ‘तर, चितवन आउने पर्यटकले वन्यजन्तु मात्रै हेर्ने हुन् भन्ने छ । त्यो धारणा परिवर्तन गर्न सबै क्षेत्रमा पर्यटक पुग्ने गरेर भ्रमण वर्षमा कार्यक्रम बनाउनेछौं,’ संयोजक डल्लाकोटीले भने ।
निकुञ्ज आउने पर्यटकलाई अन्यत्र डुलाउन सकिने सम्भावना पनि छ । निकुञ्ज घुम्ने टिकटको अवधि एक दिनको मात्रै हुने भएका कारण छोटो समय लिएर पर्यटकहरू आउने गर्छन् । टिकटको अवधि बढाउन पर्यटन व्यवसायीको माग छ ।
प्रदेश पर्यटन मन्त्रालयले जनवरी १ मा पाँच स्थानमा कार्यक्रम गर्दै भ्रमण वर्ष सुरुआत गर्ने भएको छ । मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर कुलेखानीमा भ्रमण वर्ष २०२० को प्रदेश र संघको लोगोको स्तम्भको उद्घाटन गर्ने कार्यक्रम छ । ३१ डिसेम्बरमा भने काठमाडौंको ठमेलमा स्ट्रिट कल्चलर डान्स गर्दै प्रदेशले भ्रमण वर्षको सुरुआत गर्ने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको अगुवाइमा मनहरीको लोथर, इन्द्रसरोवरको हुमाने, थाहा नगरको टिस्टुङ, वाग्मतीको झुरझुरेमा भ्रमण वर्षलाई स्वागत गर्ने होर्डिङ बोर्ड सम्बन्धित स्थानीय तह राखिने भएको छ । पर्यटकलाई आकर्षित गर्न राक्सिराङ गाउँपालिकामा चेपाङ होमस्टे, मनहरीमा वनकरिया होमस्टे, मकवानपुरगढीमा सांस्कृतिक पहिचानसहितको होमस्टे सञ्चालनमा ल्याउने तयारी भइरहेको समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताए ।


होमस्टेलाई प्राथमिकता
चरिकोटबाट १७ किलोमिटर उत्तरमा रहेको ३ हजार ८ सय ४२ मिटर अग्लो कालिञ्चोक क्षेत्रका प्रत्येक होटलले भ्रमण वर्षको स्वागत रात्रिकालीन सांगीतिक साँझ कार्यक्रम राखेका छन् । हिउँले सेताम्मे उक्त पर्यटकीय केन्द्रमा शेर्पा र तामाङ संस्कार, संस्कृति र भोजनको व्यवस्थासमेत हुने होटल सुनपातीका सञ्चालक हरि वलीले जानकारी दिए । सगरमाथाको प्रवेशद्वार भनिने जिरी नगरपालिकाका मेयर टंक जिरेलले भ्रमण वर्षको शुभारम्भ लिंकन बजारमा नृत्य, सांस्कृतिक झाँकीबाट गर्ने बताएका छन् । होटलमा ५० प्रतिशतसम्म छुट गरेर पर्यटकलाई स्वागत गरिरहेको जिरीले भ्रमण वर्षभरिको कार्यक्रम तय गरेको छ ।
जिरी नगरपालिकाले टोनी हेगन इकोलोजिकल पार्क खुला गर्ने योजना बनाएको छ । स्वीस राष्ट्रपति हेगन जिरीमा पहिलोपटक ओर्लिएको स्थानमा बनाइएको पार्कसहित गुराँस पार्कमा गुराँस मेलाको आयोजना गर्ने तयारी भइरहेको मेयर टंक जिरेलले बताए । जिरी र स्वीस सरकारको विशेष नाता भएकाले यसै वर्ष स्वीस पर्यटकलाई जिरीमा निम्ता गरिएको उनको भनाइ छ ।
अर्को पर्यटकीय क्षेत्र शैलुङडाँडा आउने पहिलो पर्यटकलाई भ्रमण वर्षको सुरुको दिन गाउँपालिकाले विशेष स्वागत र सम्मान गर्ने योजना बनाएको छ । ‘शैलुङ क्षेत्रको महादेव गुफामा मूर्ति राखेर विशेष प्रचार गर्ने र होमस्टेको संख्या थप्ने तयारी छ,’ गाउँपालिका अध्यक्ष भरत दुलालले बताए । रोल्वालिङ हिमशृंखला र गौरीशंकर हिमालसँग गाँसिएर बसेका थुप्रै पर्यटकीय केन्द्रमा विशेष कार्यक्रम हुने गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयम् खड्काले बताए । गौरीशंकर संरक्षण क्षेत्रको ठूलो हिस्सा ओगटेको उक्त पालिकाले होमस्टेलाई विशेष प्राथमिकतामा राखेको छ ।
– प्रताप विष्ट (हेटौंडा), सुवास विडारी (मकवानपुर), राजेन्द्र मानन्धर (दोलखा) र रमेशकुमार पौडेल (चितवन)

वाग्मती प्रदेश

पर्यटकलाई किबी

- कान्तिपुर संवाददाता

भ्रमण वर्ष शुभारम्भका दिन दोलखा आउने पर्यटकले भने फलफूलको राजा मानिने किबीको कोसेली पाउने भएका छन् । दोलखाको मुख्य बजार चरिकोटको सातदोबाटोमा जिल्लाभित्र उत्पादित किबीका स्टलमा उक्त सुविधा हुनेछ । मेलामा आउने एक विदेशी पर्यटकले एक केजी किबी कोसेली त पाउँछन् नै पाँच केजी खरिद गरेमा थप एक केजी निःशुल्क दिने योजना बनाइएको छ ।
भीमेश्वर नगरपालिकाका मेयर भरत केसी किबी जोनको उपाधि पाएको दोलखाले भ्रमण वर्षलाई किबी महोत्सवबाट शुभारम्भ गर्ने बताए । भ्रमण वर्षको पूर्वसन्ध्यामा चरिकोट बजारमा दीपावली गरिनेछ । भोलिपल्टदेखि सातदिनसम्म किबी, खाना र घरेलु उत्पादनको मेला लगाउने योजना छ ।
चरिकोटका सडकभरि खानाको परिकारसहित किबीको विशेष स्वाद चखाइने कार्यक्रम पनि छ । ‘उक्त मेलाभरि आउने विदेशी पर्यटक र स्वदेशीलाई किबी कोसेली दिन्छौं,’ जिल्लाको सबैभन्दा ठूलो किबी उद्योग तिलोतमा हिमाली फुडकी सञ्चालक तथा प्रबन्धक उषा थापाले भनिन् ।

वाग्मती प्रदेश

अलपत्र अबोध मावलीको जिम्मा

- कान्तिपुर संवाददाता

(सिन्धुपाल्चोक) - बस दुर्घटनापछि अलपत्र बनेकी सातमहिने शिशुलाई १३ दिनपछि अभिभावकको जिम्मा लगाइएको छ । बलेफी गाउँपालिकाको खाडीचौर बजारस्थित सिन्धु सदावहार अस्पतालका दुई डाक्टर र नर्सले शिशुलाई मावलीको जिम्मा लगाएका हुन् । शिशुको हेरचाह गर्ने विमला तामाङ र शिशुलाई दूध चुसाउने सुनकोसी गाउँपालिका–७ की सुनीता माझी शिशुलाई जिम्मा लगाएपछि भावविह्वल भएका थिए । शिशु सिन्धुलाई मामा मइलो सिं लो, सानिमा सुकुमाया लोले जिम्मा लिएका हुन् ।
‘भगवान्ले बहिनी सुनीतालाई लगे, तर सिन्धुलाई हामी हुर्काउनेछौं,’ सर्लाही नारायणखोलाका सिन्धुका मामा मइलोले भने, ‘यस्तो दुर्घटनाबाट बाँचेकी यिनी पछि केही बन्नेछिन् ।’ १३ दिनसम्म आमाझैं हेरचाह गरेर माया दिएको भन्दै उनले सुरक्षा र सञ्चारकर्मी सबैलाई धन्यवाद दिए । मंसिर २९ मा दोलखाको धार्मिकस्थल कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा४ख ४४६८ नम्बरको बस सडकबाट खस्दा १६ जनाको मृत्यु भएको थियो । जसमा शिशुकी आमा सर्लाहीकी सुनीता तामाङको समेत मृत्यु भइसकेको छ ।
‘बालमैत्री वातावरणबीच शिशु सिन्धु आफन्तको काखमा हुर्किनेछिन्, हामीले कानुनी प्रक्रिया पुर्‍याएर जिम्मा लगाएका छौं,’ प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भने । यात्रुबस दुर्घटनाको केही दिनपछि सम्पर्कमा आएका शिशुका बुबा चालक इन्द्रावती–१० का सुमन तामाङको स्वीकृतिपछि कानुनी प्रक्रिया सुरु गरिएको उनले सुनाए । लिशंखुपाखर गाउँपालिकाको मुडेबाट हिँडेको यात्रुबस लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको सुनकोसी गाउँपालिका–७ स्वाँराको ६ किलोबाट बस खस्दा १२ जनाको घटनास्थलमै र चारको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

वाग्मती प्रदेश

वडाध्यक्षलाई मोसो दल्ने थुनामा

- कान्तिपुर संवाददाता


चितवन (कास)– इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङलाई मोसो दलेको आरोपमा पक्राउ परेका दुईजना थुनामा गएका छन् । चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले बिहीबार बृखबहादुर गुरुङ र उत्तरकुमार गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो । वडाध्यक्ष चेपाङमाथि उनीहरूले गत मंसिर २१ गते दुर्व्यवहार गरेका थिए । अभियोग प्रमाणित भए पाँच वर्षसम्म कैद अथवा ५० हजार रुपैयाँसम्म जरिवना वा कैद र जरिवाना दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
इच्छाकामना–२ वडा कार्यालयको काम अहिले हपनी भन्ने ठाउँमा रहेको सामुदायिक भवनबाट सञ्चालन हुँदै आएको छ । सुरुमा ओर्ल्याङ भन्ने गाउँमा रहेको जोखलाल चेपाङको घरबाट वडा कार्यालय सञ्चालन गरिएको थियो । जोखलालको घरबाट वडा कार्यालयका सामान लिएर जान लागेका बेला मंसिर २१ गते साँझ साढे ७ बजेतिर स्थानीयले विरोध गरेका थिए । सो क्रममा वडाध्यक्षमाथि मोसो दल्नुका साथै जुत्ताको मालासमेत लगाइएको थियो ।

वाग्मती प्रदेश

सीमा पुल भासियो

- कान्तिपुर संवाददाता

नुवाकोट (कास)– नुवाकोट र रसुवा जोड्ने बेत्रावती पुल भासिएपछि यातायात सञ्चालनमा रोक लगाइएको छ । विदुर खानेपानी आयोजनाको पाइप फुटेपछि बिहीबार रसुवापट्टिको भाग भासिएको हो । छेउमै गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाले नयाँ पक्की पुल बनाउने क्रममा उक्त पुलको भित्ता काटेको थियो । भित्तामा रहेको पानीको पाइप टेको नभएपछि पुलमा खसेको थियो । ‘कुनै बेला दुर्घटना हुन सक्ने भएकाले सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ,’ जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अविनारायण काफ्लेले भने, ‘गाडी आवतजावत गर्न किस्पाङ–५ मनकामना हुँदै तुप्चेको बाटो प्रयोग गर्नुपर्नेछ ।’
सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले खसेको भित्ता मर्मत गर्न कम्तीमा एक हप्ता लाग्ने बताए । ०३४ सालमा सेनाले निर्माण गरेको उक्त पुलबाट दैनिक २०–४० टनसम्मका सवारीसाधन गुड्छन् । उक्त पुलबाट दैनिक चार हजार सवारी आजतजावत गर्छन् ।

वाग्मती प्रदेश

खाना महोत्सव

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– ‘सडकमै जाऔं, सडकमै खाऔं, सडकमै रमाऔं’ नारासहित हेटौंडामा शुक्रबारबाट खाना महोत्सव सुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र होटल एसोसिएसन अफ मकवानपुरले महोत्सव गरेका हुन् । हेटौंडा–४ स्थित हुप्रचौरमा सुरु भएको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ । प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले महोत्सव उद्घाटन
गरे । महोत्सवमा ४० वटा स्टल रहेका छन् ।

Page 5
उपत्यका

विद्युत् तार बिछ्याइँदै

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– विद्युतीय जोखिम कम गर्न सरकारले विभिन्न सहरमा तारलाई भूमिगत बनाउने तयारी थालेको छ । पहिलो चरणमा उपत्यकामा र त्यसपछि पोखरा, भरतपुर र विराटनगर लगायतका सहरमा भूमिगत प्रणालीमार्फत् विद्युत् वितरण गरिने विद्युत् प्राधिकरणले जनाएको छ । तार बिछ्याउन सडक संरचना काट्नुपर्ने भएकाले ऊर्जा मन्त्रालयलाई त्यसको अन्तिम स्वीकृत दिने काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘ऊर्जा मन्त्रालयले फाइल पठाएको छ, भौतिक तथा पूर्वाधार मन्त्रालयले केही दिनमै निर्णय गर्छ,’ उनले भने, ‘अब धेरै समय लाग्दैन ।’
पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा करिब सात अर्ब रुपैयाँ लगानीमा तार भूमिगत गर्ने योजना छ । महाराजगन्ज वितरण केन्द्रका लाजिम्पाट, बूढानीलकण्ठ, धर्मस्थली, मन्डिखाटार र बालुवाटार क्षेत्रमा काम अघि बढेको काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख अभिषेक अधिकारीले जानकारी दिए । त्यसका लागि भारतीय केई कम्पनीसँग करिब २६ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ । यो क्षेत्रमा ११ केभी मुख्य लाइन र चार सय भोल्टेजको प्रसारण लाइन अघि बढाउने योजना छ । यो प्रणालीमा एचडीई पाइपभित्र केबल राखेर भूमिगत रूपमा तार विस्तार गरिनेछ । उक्त क्षेत्रमा प्राधिकरणले १५५ किलोमिटरमा केबल बिछ्याउँदै छ ।
त्यसैगरी, रत्नपार्क वितरण केन्द्र क्षेत्राधिकारभित्र पनि तयारी थालिएको काठमाडौं उपत्यका पूर्व तथा दक्षिण प्रणाली सुदृढीकरण आयोजना प्रमुख सुमन श्रेष्ठले जानकारी दिए । परम्परागत बस्ती, साँघुरा सडक गल्ली र भूकम्पबाट क्षतिग्रस्त संरचना भएकाले काम गर्न निकै चुनौती रहेको उनले बताए । यो क्षेत्रमा १२५ किमिमा तार बिछ्याउने योजना छ । ‘बागबजार, पुतलीसडक, न्युरोड, असन, डिल्लीबजार, अनामनगर, थापाथली, माइतीघर र गैरीधारालगायत क्षेत्रमा तार बिछ्याउन सबै प्रक्रिया पूरा भइसकेको छ,’ उनले भने । टेलिकम, इन्टरनेटलगायतका तारलाई पनि अप्टिकल फाइबरमार्फत् घरघरमा पुर्‍याइने प्राधिकरणको भनाइ छ । तारलाई भूमिगत गर्दा हुरीलगायतका विभिन्न समस्या आउँदा विद्युत् जाने समस्याबाट ग्राहक मुक्त हुने श्रेष्ठ बताउँछन् । काठमाडौंमा मात्र सातवटा वितरण केन्द्र छन् । कुलेश्वर, बालाजु, जोरपाटी, कीर्तिपुर र बानेश्वर वितरण प्रणालीअन्तर्गतका क्षेत्रमा पनि तार बिछ्याउन लागिएको उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख पीयूष मालाकारले बताए । उक्त क्षेत्रमा ११ केभीको २ सय २५ किमि र ४ सय भोल्टेजको २ सय ४० किमि क्षेत्रमा तार बिछ्याइने उनको भनाइ छ । यहाँ २४० किमि क्षेत्रमा तार बिछ्याइनेछ ।

उपत्यका

स्वास्थ्य शिविर

- कान्तिपुर संवाददाता

ललितपुर (कास)– अरनिको समाज र ललितपुर महानगरपालिका–२९ को सहकार्यमा हरिसिद्धिमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा एक हजार चार सय जनाले उपचार गराएका छन् । जसमध्ये तीन सय ८० जनाले आँखा जाँच गराए ।
अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठका अनुसार ल्याब टेस्ट गराउनेको संख्या चार सय थियो । शिविरमा दन्त, आँखा, जनरल मेडिसिन, बाल तथा स्त्री रोग, हाडजोर्नी तथा नसा, पेट तथा कलेजो रोगको पनि उपचार गरिएको थियो । ललितपुर महानगरपालिका–२९ का वडाध्यक्ष गणेशकुमार महर्जनले हरिसिद्धिमा छुट्टै अस्पताल सञ्चालनमा ल्याउन पहल गर्ने बताए ।

उपत्यका

'रातो स्टिकर' लागेका भवनमा अस्पताल

- कान्तिपुर संवाददाता
भूकम्पपछि रातो स्टिकर लगाइएको टेकु अस्पताल भवन । तस्बिर ः कान्तिपुर

(काठमाडौं) - साढे चार वर्षअघिको भूकम्पले कान्ति बाल अस्पतालको प्रशासनिक भवन चर्कियो । भवन विभागबाट खटिएका प्राविधिकले रातो स्टिकर टाँसिदिए । एक वर्ष बाहिरै टेन्ट टाँगेर प्रशासनिक काम चलाएको अस्पतालले पुनर्निर्माण नभएपछि यही जोखिमपूर्ण भवन प्रयोग गर्न थालेको छ ।
चर्किएको भवनमै फार्मेसी, चिकित्सक बस्ने कोठा, लाइब्रेरी र प्रशासनिक कोठाहरू छन् । विकल्प नहुँदा असुरक्षित भवन सञ्चालन गर्न बाध्य भएको अस्पतालका निर्देशक डा. आरपी बिच्छाले बताए । ‘भूकम्पले चर्काएर भवन डरलाग्दो बनाइदिएको थियो । त्यतिबेला यहाँभित्र कोही छिर्न मान्थेनन्,’ उनले भने, ‘प्वाल टालटुल पारेर, रङ लगाएर बाहिरबाट छोपेका छौं, भित्र भने भवन कमजोर छ ।’
कहिलेकाहीँ भूकम्पको धक्का आएका दिन अस्पतालका कर्मचारी त्रसित हुने गरेका छन् । चर्किएको यो भवन ४० वर्ष पुरानो हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षतिग्रत भवन भत्काएर नयाँ बनाउने योजना बनाए पनि हालसम्म काम भएको छैन । गत साता प्राधिकरणको प्राविधिक टोली बोलाएर अस्पतालको जीर्ण भवनबारे जानकारी गराएको निर्देशक डा. बिच्छाले बताए । ‘भवनबारे प्रतिवेदन बनाएर हामीले स्वास्थ्य मन्त्रालयमा बुझाएका छौं,’ उनले भने, ‘यो भत्काएर नयाँ भवन बनाइदिने आश्वासन दिएका छन् ।’
भूकम्पकै कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको भवन पनि क्षतिग्रस्त भयो । अस्पतालको चारतले भवन काम नलाग्ने गरी चर्किएपछि भवन विभागले निरीक्षण गरेर रातो स्टिकर लगाइदियो । रातो स्टिकर लगाइदिएको यही भवन अहिलेसम्म प्रयोगमा छ । चारतले भवनलाई चिकित्सक र स्वास्थ्यकर्मीका लागि क्वाटर बनाइएको छ । जोखिमका बाबजुद पाँच वर्षदेखि उनीहरू यो भवनमा बसिरहेका छन् । जोखिमयुक्त भवनमा नबस्न आग्रह गरे पनि कर्मचारीले ठाउँ नछोडेको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए । ‘काठमाडौंको महँगो भाडा तिर्न नसक्ने कर्मचारी चर्किएकै भवनमा बसिरहेका छन्,’ उनले भने ।
अस्पतालको मुख्य भवन र प्रशासनिक भवन पनि भूकम्पले चर्काएको छ । बिरामी भर्ना गरेर राख्ने वार्ड रहेको भवन पनि सुरक्षित छैन । भवन पुनर्निर्माण हुन नसक्दा यही भवनबाट अस्पताल सञ्चालन भइरहेको छ । कमजोर यो भवन ८६ वर्ष पुरानो हो । ‘भूकम्पले चर्काएको भवनमा त हामीलाई जोखिम छ नै, नचर्किएका भवन पनि थोत्रा भइसके,’ डा. पाण्डेले भने, ‘बजेट भए पनि ठाउँ अभावका कारण नयाँ भवन बनाउन सकेका छैनौं ।’ भवन पुनर्निर्माणका लागि स्वास्थ्य मन्त्रालयसँग जग्गा माग गरे पनि वास्ता नभएको उनको गुनासो छ ।
टेकु अस्पतालमा भएका चारवटै भवन पुराना छन् । सबै बिरामीलाई एकै ठाउँ राखेर उपचार गरिन्छ । यसो हुँदा रोग सर्ने सम्भावना पनि उच्च छ । ‘भवन पुरानो र चर्किएकै कारण लिफ्ट हाल्न सकिएको छैन । लिफ्ट नहुँदा माथिल्लो तलासम्म बिरामी ल्याउन गाह्रो छ,’ उनले भने, ‘रङरोगनले बाहिरबाट हेर्दा अस्पताल ठिकै नदेखिए पनि भित्रको अवस्था भने कमजोर भइसकेको छ ।’

उपत्यका

मन्दिर भत्काउँदा भेटिएको भित्तेचित्र संग्रहालयमा राखिने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– जयबागेश्वरी मन्दिर भत्काउँदा फेला परेको प्राचीन भित्तेचित्र पुरातत्व विभागले संरक्षण गर्ने भएको छ । मन्दिर भत्काउने क्रममा गजुरसहितको अर्को मन्दिर भेटिएको थियो । त्यही मन्दिरको दोस्रो तलाको भित्तामा प्राचीन चित्र फेला परेको थियो । त्यसलाई उप्काएर संग्रहालयमा राखिने पुरातत्त्व विभागका अधिकृत देवेन्द्र भट्टराईले जानकारी दिए ।
०७२ सालको भूकम्पले क्षति पुर्‍याएको मन्दिर भत्काएर पुनर्निर्माण गरिँदै छ । मन्दिरभित्र अर्को संरचना भेटिएपछि त्यसमाथि थप अध्ययन गर्न विभागले काम रोकेको थियो । मन्दिरका पूर्वपुजारी मृत्युञ्जय कर्माचार्यका अनुसार भित्तेचित्र गणेश, भैरव र कुमारीको हो । चित्रमा दुई तह छन् । बीचबीचमा मुसाले खाएर क्षति पुर्‍याएको छ । बाँकी रहेको भागलाई सुरक्षित तरिकाले उप्काउने जिम्मा पुरातत्त्व विभागले गृहमान सिंहलाई दिएको छ । उनी भित्तेचित्र बनाउन, धमिराले खाएको प्राचीन काठ जोगाउन र सफा गर्न कहलिएका रसायनविद् हुन् । यहाँको चित्र उप्काएर पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिनेछ । कोषले पशुपतिमै बन्न लागेको संग्रहालयमा चित्रलाई राख्ने भएको छ ।
यो चित्र कुन कालखण्डको हो भन्नेबारे पत्ता लागेको छैन । ‘यहाँ भित्तेचित्र छ भनेर हाम्रा बाजेले समेत भनेका थिएनन्,’ उमेरले ७० कटेका कर्माचार्यले भने, ‘यो चित्र भेटिनु हाम्रा लागि निकै ठूलो कुरा हो ।’
पशुपतिनाथको मुख्य शक्तिपीठमध्ये जयबागेश्वरी लिच्छवीकालीन मानिन्छ । यहाँ हरेक १२ वर्षमा चित्रको रङ फेर्ने गरिन्छ । त्यस क्रममा माटोका प्राचीन मूर्तिसमेत परिवर्तन हुन्छन् । मन्दिरको मुख्य विशेषता नै यहाँका देवीका चित्र हुन् । संस्कृतिकर्मी मुकुन्दराज वैद्यका अनुसार जयबागेश्वरीलाई महाकाली, महालक्ष्मी र महासरस्वतीको संयुक्त रूप मानिन्छ । यी सबैका मूर्ति माटोका छन् । भित्तामा पनि यिनै देवीका चित्र छन् ।

उपत्यका

होर्डिङ बोर्ड हटाउन थालियो

- कान्तिपुर संवाददाता

(काठमाडौं) - काठमाडौं महानगरपालिकाले सहरलाई नै कुरूप बनाउने गरी चोकचोकमा राखिएका होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ ।
सफा, स्वच्छ र सुन्दर सहर बनाउने योजनाअनुरूप विभिन्न ठाउँमा विज्ञापनका लागि राखिएका होर्डिङ बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटलगायतलाई हटाउने प्रक्रिया सुरु गरेको नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले बताए । शुक्रबार मात्रै तीनकुने, माइतीघर, टेकु र विष्णुमती पुलका चार वटा ठूला होर्डिङ बोर्ड हटाएको उनले बताए । महानगरले भित्तेलेखन तथा सडकमा जथाभावी माटो खसाल्ने १० कम्पनी र व्यक्तिलाई समेत कारबाही गरेको छ । भोटाहिटी नजिक कालोपत्रे सडकमा माटो खसाल्ने जेटीसीलाई २५ हजार, जथाभावी होडिर्ङबोर्ड र पर्चा/पम्प्लेट टाँस्ने भ्याली इन्स्टिच्युट चाबहिललाई १० हजार र काठमाडौं जब इम्प्लोयमेन्ट, सेन्ट जेभियर्स तथा गोल्डेनगेट मल्टिपर्पोजलाई ५/५ हजार रुपैयाँ जरिवाना तिराएको सापकोटाले बताए ।
भित्तेलेखनलगायत प्रचार सामग्री हटाउने काममा महानगरले सोमबारबाट कम्तीमा तीन वटा टोली बनाएर परिचालन गर्ने जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर महानगरले अभियान थालेको हो । ०७० मा जारी गरेको विज्ञापन सामग्री नियमन गर्ने कार्यविधिलाई पूर्ण कार्यान्वयन गरेको महानगरले जनाएको छ ।

उपत्यका

बिचौलिया समातिन्छन्, भोलिपल्ट उस्तै

- कान्तिपुर संवाददाता
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राही । फाइल तस्बिर ः कान्तिपुर

(ललितपुर) - महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट गएको सादा पोसाकको सुरक्षाकर्मी टोली यातायात व्यवस्था कार्यालय एकान्तकुना पुग्यो । बिचौलियाको चलखेल बुझ्न परिचय लुकाएर गएको टोलीले कार्यालयअघि भेटिएका बिचौलियासित सवारी अनुमतिपत्र बनाइदिन अनुरोध गर्‍यो । बिचौलियाले पनि ग्राहक ठानेर ‘नक्कली होइन, सक्कली नै बनाइदिने’ भन्दै २५ हजार लाग्ने बताए । प्रहरीले आफ्नो परिचय खुलाए र भोजपुरका २९ वर्षीय सञ्जीव राईलाई नियन्त्रणमा लिए । सात दिनअघि समातिएका उनले प्रहरीसँगको बयानमा सवारी प्रशिक्षण दिने, अनुमतिपत्र मिलाइदिने र सवारी दर्ता किताबको नवीकरण गर्ने गरेको बताएका छन् ।
बिचौलिया पक्राउ परेपछि केही दिन कार्यालयको स्थिति सामान्य बन्यो । तर, अहिले भने अवस्था पहिलेकै दोहोरिन थालेको छ । बिचौलियाको चलखेल अत्यधिक भएपछि छानबिन थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) वाग्मती एकान्तकुनाका निमित्त प्रमुख चेतप्रसाद उप्रेतीले कार्यालयमा बिचौलिया हाबी भएपछि पक्राउ गरी कारबाही गर्न आफैले प्रहरीलाई सूचना दिनुपरेको बताए । ‘अधिकांश दलाल लागुपदार्थ सेवन गर्ने छन् । प्रहरीको सहयोग नभई हामीले मात्र केही गर्न सक्दैनौं,’ उनले भने, ‘साता दिन बिराएर प्रहरीलाई खबर गर्ने गरेका छौं ।’ कार्यालयमा चलखेल कम गर्न कोठाकोठामा सीसीटीभी क्यामेरा जडान गरिए पनि हाल ती सञ्चालनमा छैनन् ।
यातायात कार्यालय सवारी अनुमतिपत्र फाँटबारे जानकार एक सरकारी कर्मचारीका अनुसार सवारी अनुमतिपत्र बनाउने क्रममा बिचौलिया र केही कर्मचारीबीच मिलेमतो हुने गरेको छ । यस्तो कार्यमा राजधानीका केही ड्राइभिङ सेन्टरका सञ्चालकसमेत संलग्न छन् । सोझासिधा सेवाग्राहीलाई प्रभावमा पारेर बिचौलियाले एउटा लाइसेन्स निकालेबापत २५ देखि ३० हजारसम्म लिने गरेका छन् । ‘लिखित पास भएर पनि ट्रायलमा फेल भएका व्यक्ति दलालको सम्पर्कमा जाने गरेका छन् । सवारी अनुमतिपत्रमा आर्थिक घोटाला र चलखेलको गुनासो आउने गरेको छ,’ एक अधिकृतले भने ।
बिचौलियाले १० रुपैयाँमा सजिलै पाउने एउटा दर्ता फारामको ३०, लिखित परिक्षाको नतिजा जानकारी गराइदिने भन्दै ५०, लिखित परीक्षामा आउने प्रश्नावली भन्दै केही प्रश्न दिएर ५ सयदेखि हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ ।
कार्यालयमा केही साताअघि ललितपुर महानगरपालिकाबाट खटिएको प्रहरी टोलीले पनि बिचौलियाको फोटोकपी मेसिन, दर्ता फारामलगायतका सामान बरामद गरेको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले दलालको चलखेल हटाउन प्रहरीलाई नियमित परिचालन गर्न निर्देशन दिइसकेको बताए । ‘सादा पोसाकमा पनि प्रहरी परिचालन हुनेछ,’ उनले भने, ‘दोहोर्‍याएर पक्राउ पर्नेलाई कडा कारबाही गर्न भनेका छौं ।’

Page 6
विविधा

एन्फा : सत्ता फेरियो, प्रवृत्ति फेरिएन

समाजको विकृतिले एन्फालाई पनि छाडेन । गणेश थापाको विकृति विरुद्ध सुधार अभियान ‘चेन्ज एन्फा’ (एन्फा शुद्धीकरण अभियान) को प्रारम्भ भयो, २०७० सालमा । अभियानमा फुटबलसँग सम्बन्धित राष्ट्रिय स्तरका हस्तीहरूदेखि अन्तर्राष्ट्रिय तहका ज्ञाताहरू पनि सम्मिलित भए । तत्कालीन उपाध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा अर्का उपाध्यक्ष विजयनारायण मानन्धर, केन्द्रीय सदस्य पंकजविक्रम नेम्बाङ, दीपक खाती, रूपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर (कुमार) केसी र नवीन पाँडेसहितको अभियान सुरु भयो । अभियानले पहिलो प्रयासमा असफलता भोगे पनि २०७५ वैशाखको निर्वाचनमा फुटबलको विकासका लागि जिम्मेवार निकायको सत्ताकब्जा गर्‍यो ।
फुटबलप्रेमीका सपनाहरू धेरै थिए, छन् । अभियन्ताहरूले यसलाई साकार पार्ने विश्वास जितेका थिए । तर उनीहरूले नेतृत्व सम्हालेपछि पनि परिणामहरू अपेक्षा अनुरुप देखिएनन् । यसैबीच शुद्धीकरण अभियानका सदस्यहरूमध्ये केहीले परिणाम नदेखिएकोमा असन्तुष्टि व्यक्त गरे, केहीले भने यसैलाई परिवर्तनको अनुभूति गर्न थाले । परिणाम नदेख्नेहरू केही समय लतारिए पनि अन्ततः सुधार नदेखिएकोमा खुलेरै नेतृत्वको विरोधमा उत्रिन थालेका छन् । यस समूहमा पंकजविक्रम नेम्बाङ, नवीन पाँडे, दीपक खाती, सुक गुरुङ लगायत छन् ।
शुद्धीकरण अभियानका बेला सुशासन, पारदर्शिता, सामूहिक नेतृत्व, विकेन्द्रीकरण, फुटबलमा व्यावसायिकतालाई मुख्य मुद्दाको रूपमा उठाइएको थियो । यिनै प्रमुख कार्यसूचीको आधारमा शुद्धीकरणका अभियन्ताहरूले शुद्धीकरण अभियानको उद्देश्य हासिल गरे/गरेनन्, विश्लेषण गर्नुपर्ने हुन्छ ।
सुशासन ः सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७० को लिग सकिएर पनि तयारी खर्च र पुरस्कार नदिएको भन्दै कर्माछिरिङ शेर्पा नेतृत्वको हिमालयन शेर्पासहित फ्रेन्ड्स, मच्छिन्द्र र सरस्वती युवा क्लबले गणेश थापाले अनियमितता गरेको, एकलौटी रूपमा एन्फा सञ्चालन गरेको भन्दै विरोध गरेको थियो । पछि त्यसैले शुद्धीकरण अभियानको रूप लिएको हो । शेर्पा, नेम्बाङ र खातीले संसदको सार्वजनिक लेखा समिति, प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदमा उजुरी गरेका थिए । लेखा समितिले ५८ करोड रुपैयाँ अनियमितता भएको भन्दै नेतृत्वलाई पदीय जिम्मेवारीबाट हटाएर छानबिन गर्न अख्तियारलाई निर्देशन दियो । तर अख्तियारले त्यो मुद्दालाई आधार बनाएर एन्फालाई सुधारको लागि सुझाव दिएर उजुरीलाई तामेलीमा थन्क्याइदियो । त्यसपछि गणेश थापालाई भ्रष्टाचारको अभियोगमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध लगाइदियो । अनि उनकै सहयोगी नरेन्द्रलाल श्रेष्ठले एन्फाको नेतृत्व गरे । गतवर्ष भएको कार्यसमिति निर्वाचनमा शुद्धीकरण अभियानमा लागेकाहरूले सबै पद जिते । कर्माछिरिङ शेर्पा अध्यक्ष बने । गणेश थापा युगको अन्त्य भयो । तर व्यक्ति फेरियो, प्रवृत्ति फेरिएन । नयाँ गणेश थापाहरू जन्मिए ।
पारदर्शिता ः शेर्पा समूहले एन्फामा एसियाली फुटबल महासंघ (एएफसी) र फिफामा बुझाएको, खेलकुद परिषदबाट पारित गरेको र आफैले राखेको गरी तीनवटा विधान भएको आरोप लगाएको थियो । अहिले उनैमाथि ती तीनै निकायमा फरक–फरक विधान राखेको आरोप लागेको छ । अध्यक्ष शेर्पाले प्रायोजन सम्झौता, प्रतियोगिता सञ्चालन, विदेश भ्रमण लगायत कार्यक्रमहरू कार्यसमितिको बैठकमा प्रस्ताव वा छलफल नगरी एकलौटी ढंगले गरिरहेको आरोप छ । शुद्धीकरण अभियानको बेला शेर्पा फुटबलमा जुन कार्यशैलीको विरोध गर्थे, अहिले उनैले त्यही शैलीलाई बढोत्तरी गरेको आरोप लागेको छ । १७ सदस्यीय कार्यसमितिमा धेरैले एन्फामा के भइरहेछ भन्ने थाहै नपाउने गरेको पदाधिकारीहरू नै बताउँछन् । एन्फाले नयाँ नेतृत्वपछि आर्थिक नियमावली, कर्मचारी प्रशासन नियमावली ल्याए पनि ती नियमावलीहरू वैज्ञानिक देखिएका छैनन् ।
सामूहिक नेतृत्व ः शुद्धीकरणका अभियन्ताहरूलाई कार्यसमितिको निर्वाचनपछि पनि वरिष्ठ उपाध्यक्षको चयन गर्न एक वर्ष लाग्यो । यसबीच अध्यक्षले पालैपालो चारै उपाध्यक्षलाई आफ्नो स्वार्थ अनुसार नजिक राख्न खोजेको आरोप छ । एन्फामा विभिन्न समिति बनाइए पनि कार्यसञ्चालनमा अध्यक्ष नै हावी छन् । समितिहरूले स्वतन्त्रतापूर्वक काम गर्न नपाएको गुनासो छ । चुनाव सकिएको एक वर्ष नबित्दै शुद्धीकरण अभियानका अगुवाहरू नवीन पाँडेले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख र विजयनारायण मानन्धरले अनुशासन समितिको संयोजकबाट राजीनामा दिए । उनीहरू शुद्धीकरण अभियानमा शेर्पा समूहको मेरुदण्डको रूपमा थिए । अध्यक्षले उनीहरूको राजीनामालाई कार्यसमिति बैठकमा ल्याउने हिम्मत गर्नसकेका छैनन्, न त जिम्मेवारीमै फर्काउनसकेका छन् । यसबाट शेर्पाले सामूहिक नेतृत्वको गर्न नसकेको प्रस्ट हुन्छ ।
विकेन्द्रीकरण ः कुनै पनि देशको फुटबलको विकासको आधार त्यस देशको लिगको स्तरलाई लिएर मापन गरिन्छ । यस आधारमा हेर्ने हो भने नेपालको फुटबल अझै पनि काठमाडौं उपत्यकामै सीमित गरिएको छ । किनभने ‘ए’ डिभिजन लिग भनेर उपत्यकाका क्लबलाई मात्रै खेलाइन्छ, देशको मुख्य प्रतियोगितालाई मोफसलमा विस्तार गर्नसकेको छैन । जबकि देशको मुख्य प्रतियोगिताको रूपमा लिग सञ्चालन गर्न फिफा र एएफसीले करोडौं रकम दिने गरेको छ । विधान अनुसार हरेक जिल्ला संघ एन्फाका स्वतन्त्र सदस्य हुन्, तर मोफसलमा प्रतियोगिता सञ्चालनको लागि एन्फाको स्वीकृति लिनुपर्ने बाध्यकारी नियम लगाइएको छ । चन्द्रनिगाहपुर (रौतहट) मा महिला फुटबल एकेडेमी सञ्चालन गर्न फिफाले झन्डै ४ करोड रुपैयाँ दियो । नेपाली फुटबलको लागि यो राम्रो परियोजना हो । तर एन्फाले मन्त्रीपरिषदको स्वीकृतिबिना नै सामुदायिक वनको जग्गामा भवन बनाएर गैरकानुनी काम गरेको छ ।
व्यावसायिकता ः खेलाडीले खेलेर जीवनयापन गर्न पाउनुपर्छ । त्यसका लागि फुटबल क्लब आत्मनिर्भर हुनुपर्छ । जसको यहाँ अभ्यास पनि भएको छैन । खेलाडीको बाँच्ने आधार भनेको सहभागिता र उपलब्धि हो । न त यहाँ सहभागिताको सुनिश्चितता छ, न खेलाडीले उपलब्धिको अनुभूति नै गर्ने अवसर पाएका छन् । लिग नै तीन महिनामात्रै चल्छ, जुन झारा टार्ने खालको हुन्छ । यस्तो लिगले न व्यावसायिकताको प्रबर्द्धन गर्छ, न त खेलाडीको जीवन निर्वाहलाई सुनिश्चित गर्छ ।
अहिले शुद्धीकरण अभियानका अभियन्ताहरूबीच विभाजनको रेखा कोरिएको छ । ४ वर्षे शुद्धीकरण अभियानका बेला गणेश थापा क्याम्पमै रहेका इन्द्रमान तुलाधर (महासचिव), वीरबहादुर खड्का, उपेन्द्रमानसिंह (दुवै उपाध्यक्ष), रवीन्द्र जोशी (कोषाध्यक्ष) लगायतकै पदाधिकारीहरूको अहिले पनि एन्फामा हालीमुहाली चलिरहेको बताइन्छ । शुद्धीकरण अभियानका अभियन्ताहरू नेम्बाङ, पाँडे, खाती शेर्पाको समूहबाट अलग भएका छन् । अध्यक्ष भएपछि शुद्धीकरण अभियानमा साथ दिनेहरूलाई बेवास्ता गरेका छन् ।

रामप्रसाद मैनाली

विविधा

मार्क्स, पुनरागमन र गुरुकुल

समय रेखा
- अभि सुवेदी

 

नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा २०७६ पुस १ गतेदेखि तीन दिनसम्म चलेको अमेरिकी नाटककार हवार्ड जिनको ‘मार्क्स इन सोहो’ नाटकको नेपाली रूपान्तरण ‘मार्क्स फर्किए’को प्रस्तुति हेर्न म अन्तिम दिन गएँ । मैले त्यहाँ जे देखेँं, सुनेँ, अनि सानातिना छलफल गरेंँ, त्यसले निकै तरङ्गित भएँ ।
केही समय पहिले एउटा होटलमा हवार्ड जिनले लेखेको यो नाटकको नेपाली रूपान्तरण र यसको भाष्यमा चित्रण गरेको विषयमा छलफल भएको थियो । मार्क्सको द्विशत वार्षिकी समारोह समिति र नेपाल अध्ययन केन्द्रको आयोजनामा प्रस्तुत गरिने यो नाटकको नेपाली पाठको छलफल सुनील पोखरेल र प्रवीण खतिवडाले प्रस्तुत गरेका थिए । पहिलो त मलाई यो छलफलको फराकिलो र सिर्जनशील मनसाय नै मनपर्‍यो । नेपालमा मार्क्सवादी र सिर्जनशील मानिसहरू बसेर यसरी छलफल गरिएको मलाई त्यति सम्झना छैन । म मार्क्सका दर्शन र उनका मानवजनिन विचार अनि मानिसको मुक्ति विषयका उनका चिन्ता विषयमा जीवनभरि नै चाख राखेर तिनलाई साहित्य र सिद्धान्त अध्ययनमा पठन–पाठन गरिआएको मानिसको निम्ति यो एउटा अप्रत्यासित अनुभव भयो । तर विस्तारै मार्क्सवादी भनिने शासकहरू निरङ्कुश भएको अनि तिनले लामो शासन गरेका मुलुकहरूमा मानिसको दुर्दशा भएको कारणले मार्क्सलाई मनपराउने यो विश्वका धेरै मानिसजस्तै यिनलाई लिएर निजी जगतमा यसै बस्नेमा परिसकेको मानिस हुँ म ।
त्यसपछि नेपालमा मार्क्सवादी शासक र दलका नेताहरूसँग धेरै वितृष्णा भएको म एक शिक्षक र साहित्य त्यसमा पनि नाटक लेख्ने मानिसको निम्ति यो प्रयोगले केही महत्त्वपूर्ण उत्साह थपेको अवस्था थियो, त्यो छलफल । छलफलमा मार्क्सलाई जीवनवादी र जीवनका राग, चाहना, अनुभव भएको मानिसको रूपमा प्रस्तुत गर्ने विषय धेरै महत्त्वपूर्ण थियो । नाट्य कलाकार र मार्क्सवादीहरूबीच भएको छलफलमा मार्क्सलाई देउता नै बनाएर प्रस्तुत गर्ने कि मानव भन्ने विषय
उठ्यो । मैले भनेँं– मेरोनिम्ति मार्क्स जीवनजस्तै महान र त्यत्तिकै स्वतन्त्र दार्शनिक र मानव हुन् । तर ती अराजक थिए भन्दिन । अराजकतावादी त बाकुनिन थिए, तर मार्क्सका विचारसँगै तिनको जीवनका अराजक सिर्जना पनि साथै थिए । मार्क्स एक सिर्जनशील लेखक नै थिए । किनभने तिनले त्यही सिर्जनाको शक्ति समातेर कालजयी विचारधाराका ग्रन्थ र लेख लेखे । यसको छलफल अलिक पछाडि गरेको छु ।
मेरो मनसँग दुइटा कुरा नजिकसँग जोडिएका थिए– मार्क्स र म सम्बद्ध गुरुकुलका निर्देशक र कलाकारहरू । त्यहाँ मार्क्स भएर खेल्ने कलाकार निर्देशक सुनील पोखरेलले विगतमा निर्देशन र प्रस्तुत गरेका मेरा नाटकमा कसरी इतिहास र पुनरागमनका विषयले हामी गुम्फित भएका थियौं, त्यसले पनि मलाई निकै उद्वेलित गरेको हो । सुनीलसँग अन्तरङ्ग काम गर्दै यो नाटकको निर्देशन गर्ने प्रवीण खतिवडाले मेरा नाटकमा पनि मूल भूमिका खेलेदेखिका अन्तरङ्ग सम्बन्ध छन् । त्यस्तै
रङ्गमञ्चीय सम्बन्ध निशा शर्मा र सरस्वती चौधरीसँग पनि छन् । उनीहरूका त्यहाँ सानै भए पनि अभिनयले गर्दा म एकाएक गुरुकुलको परिवेशमा छु कि भन्ने भाव भएको थियो । यो नाटकको मार्क्सवादी पृष्ठभूमि र यसको ऐतिहासिकता अनि आज निजी लाभलक्षित योजनाहरूले शासन गर्ने नेपालका मार्क्सवादीहरूका मर्मबारे हरि रोकाको ‘काठमाडौंमा मार्क्स ! कामरेडहरूलाई सकस त भएन ?’ शीर्षकको नयाँ पत्रिका (२०७६ पुस ५) मा प्रकाशित लेख अनलाइन पाइने हुनाले म त्यतातिर जान चाहन्न । म यस लेखमा रङ्गमञ्चकै विषयमा बढी लेख्न चाहन्छु । तर हामी साहित्य र रङ्गमञ्चमा मार्क्सको पुनरागमन वा मार्क्सका विचारको नैरन्तर्यको विषयलाई कसरी राख्छौं भन्ने छोटो छलफल पनि गर्न चाहन्छु ।
दिवंगत भएकाहरू फर्केर आउने विषय एउटा लक्षणाको रूपमा पनि प्रयोग गरिन्छ । अनि विश्वासबाट पनि गरिन्छ । मरेर गएका आत्मा वा मानिसको अप्रत्यासित आगमनमा विश्वास गर्नेका भाष्यमा यो विषय प्रयोग भइरहन्छ । तर विश्वास नगर्नेले पनि यो विषयलाई मज्जैले प्रयोग गरेका छन् । दुई जर्मन युवकहरू २९ वर्षका ‘इपिक्युरियन हेडोनिजम’ र ‘हेगेलियन’ चिन्तन प्रणालीमा चाख भएका दार्शनिक कार्ल मार्क्स र २८ वर्षका फ्रेडरिक एङ्गेल्स मिलेर लेखेको फेब्रुअरी १८४८ मा प्रकाशित कमिनिस्ट घोषणापत्रको मूल वाक्यमै भनिएको छ, ‘एउटा ख्याक वा स्पेक्टरले युरोपलाई तर्साइराखेको छ, त्यो हो– कम्युनिजमको ख्याक ।’ यो भनाइको अनेकौं किसिमले व्याख्या भएको छ । तर मार्क्सलाई लिएर नाटक जगतभित्र पस्ने यो एउटा महत्त्वपूर्ण बिन्दु हो । यो ख्याकले शेक्सपियरका नाटकसँग जोड्छ । खासगरी जब मार्क्सको मृत्यु भइसक्यो भन्ने तर्कहरू पश्चिमका पुँजीवादी चिन्तकहरूबाट निस्के, फ्रान्सेली दार्शनिक जाक डेरिडाले त्यसको प्रतिकार गरे । तर तिनले आफ्नै पाराले प्रतिकार गरे । डेरिडाले कमिनिस्ट घोषणापत्रकै ख्याकको रूपक प्रयोग गर्दा कम्युनिजमको ख्याक नभनेर मार्क्सको ख्याक भन्ने विचार प्रयोग गरे । उनको यो किताब फुकुयामाले सन् १९९० को विश्व राजनीतिमा आएको परिवर्तनपछि ‘इतिहासको अन्त्य’को विचार प्रचार गरेको लगत्तै अर्थात् सन् १९९४ मा आएको हुनाले यसमा डेरिडाले मार्क्सका विचारको सिर्जनशील शक्ति छ भन्ने कुरा देखाएको कुरा प्रस्ट छ । फुकुयामाले युगको अन्त्य भनेको धारणा क्रिस्चियानिटीको युग अन्त्यको धारणाबाट पनि बनेको छ । बाइबलमा युगको अन्त्य र नयाँ मानवको उदयको एउटा साझा स्रोत छ । मार्क्सवादी चिन्तनमा पनि इतिहासलाई यस्तै आमूल परिवर्तनको दृष्टिले हेरेको भेटिन्छ । पुँजीवादको अन्त्य र श्रमिक वर्गको विजय त्यसको उदाहरण हो । डेरिडाले उनको अध्ययनमा शेक्सपियरका नाटकहरू खासगरी
‘ह्यामलेट’को प्रयोग गरे । यसमा उनका पिताको ख्याक र ह्यामलेटका एकल सम्वादको प्रसङ्ग छ ।
डेरिडाले फ्रेन्च भाषामा यस्तो उक्ति नै लेखेका छन्, स्पेक्टरको इन्जङ्सनमा ः ‘शेक्सपियर जसले मार्क्स जन्माए, मार्क्स जसले भालेरी जन्माए’ इत्यादि । डेरिडा भन्छन्, अनुवाद गर्छु, ‘मार्क्स र एङ्गेल्सले आधुनिक युरोपको कुनै नाटकीय पक्षमाथि खासगरी यसका जोड्न सक्ने योजनामाथि विचार गरे होलान्, व्याख्या गरे होलान् अथवा भित्री कुरा चिने होलान्... ...शेक्सपियरले यो मार्क्सेली रङ्गमञ्चीयतालाई बारम्बार प्रेरित गरिआएका होलान्’ (पृष्ठ ३) । मार्क्सको यो नाटकीय शक्ति पहिचानलाई हवार्ड जिनले राम्ररी बुझेर प्रयोग गरेका छन् । नाटकको अन्त्यमा मार्क्सले भनेका छन्, ‘म फर्केर आएकोमा तिमीलाई झिँजो लागेको त होइन ? यसलाई यसरी बुझ न । यो दोस्रो आगमन (सेकेन्ड कमिङ) हो । क्राइस्ट आउन नसकेकाले मार्क्सले आउनुपरेको हो... ।’ यो जोडदार बुझाइ हो, जिनको । उनले मार्क्सको आगमन क्राइस्टको आगमनजस्तै गरेर राखेका छन्, तर सबभन्दा मुख्य कुरा एक नाटकको माध्यमबाट । अर्को माध्यमबाट आएको भए वा मार्क्सलाई अमूक देवत्व गरिएका कुराले भरेर, तिनका महान विचारलाई उपदेशको रूपमा राखेर गरिएको भए त्यो ‘प्रोपगन्डा’ हुने थियो । यो कुरा बुझ्ने वामपन्थी युवा र तिनका सल्लाहकारहरूलाई साधुवाद । आशिर्वादी भएँ ।
मार्क्स आउनु र आफूमाथि लागेका लाञ्छनाको उत्तर दिनु यो नाटकको र मार्क्सवादी अध्ययनको आधार होइन । त्यो त रूपक हो । मार्क्सका विचार अहिले दिनदिनै सार्थक हुँदै गएका छन् । तिनमाथि गम्भीर भएर ती मानिसलाई देवता नमानेर, तिनलाई तिमी–हामीजस्तै क्रान्ति, दर्शन, प्रेम र अनुराग भएका मानिस मानेर लिने हो भने धेरै कुरा खुल्छन् । सानो लेखमा भन्न सकिँंदैन । पुँजीवादले मानवीय संवेदना मार्दै लगेको छ । मार्क्सले ‘पुँजी’ पहिलो खण्डमा भनेजस्तै मानिस अहिले झन् एक्लिने (एलियनेसन) अवस्थामा पुगेको छ । मानिस सिर्जनशील छ । ऊ बनाउँछ, उसको सिर्जनशीलता उसका काममा देखिन्छ । कर्मशील छ, अनि त्यो आफ्नो रचना आफूबाट टाढा गएको देख्छ । त्यो ‘फेटिस’ हुन्छ, शोषणको रूपक हुन्छ । आजको ५ प्रतिशत धनीले चलाएको विश्वमा, पुँजीवादीहरूले एकल रूपले शोषण गरेका समाजमा, आसेपासे पुँजीवादले नेपाल आक्रान्त भएको अवस्थामा मार्क्सले भनेका यी कुराको सार्थकता अहिले झन् बढेको कुरा देख्न सकियो भने मार्क्स नेपाल आएको ठहर्नेछ । मार्क्सले म मार्क्सवादी होइन भनेजस्तै म कमिनिस्ट होइन, मार्क्सवादी हुँ भन्ने मेरो भनाइमा मार्क्सको त्यही शक्ति, त्यही रङ्गमञ्चीय प्रस्तुतिको सामर्थ्यमाथिको विश्वास व्यक्त हुन्छ ।
मार्क्सको पुनरागमनको यो नाटक सुनील पोखरेलले जसरी अभिनय गरेका छन्, त्यो म एक रङ्गमञ्चको मानिस र नाटक लेख्ने अनि उनले तिनको निर्देशन गर्दा सहकार्य गरेको मनुवाको हिसाबले भन्दा एक प्रशंसनीय अभिनय कला हो । यो नाटकमा इतिहासका ठूलठूला छलाङ र परिवर्तनका झड्काहरू छन् । ‘युग सकियो’ वा ‘अर्को युग आयो’ को द्वन्द्वमा अल्मलिएको समयको चरित्र यो अभिनयको आत्मा हो । मार्क्सलाई लिएर सुनील पोखरेलले मञ्चमा त्यही अभिनय प्रस्तुत गरेका थिए । यस नाटकमा प्रवीण खतिवडाले सूक्ष्म निर्देशन गरेका छन् । यो नाटकको नेपाली पाठ लिएर त्यो दिन मार्क्सको सही चरित्रबारे बहसमा बसेका सुनील र प्रवीण अनि सहभागीका छलफल सुन्नलायक थिए । यो नाटक गर्ने, गराउने र अभिनय गर्ने, अनि हेर्न आउने सबैलाई साधुवाद ।

विविधा

सूचना पाउनै सकस

- विद्या राई

 

प्रसंग २०७६ मंसिर २७ गते कान्तिपुरको पहिलो पृष्ठमा प्रकाशित ‘खप्तडमा गडबड’ समाचारको हो । २०७५ को चैत अन्तिम साता बझाङ सहकर्मी वसन्तप्रताप सिंहसँग रिपोर्टिङका क्रममा खप्तड पुगेका थियौँ । उताबाट काठमाडौं फर्केपछि मैले पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा सूचना माग्न थालेँ । ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४’ अनुसार विवरण माग्दा निकुञ्जका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले केही दिनमै बोलाएर मागेको विवरण सर्लक्कै दिए । यही आसले पर्यटन मन्त्रालय र बोर्डमा पनि सूचना अधिकारीलाई निवेदन लेखेँ । तर राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेर पटक–पटक ताकेता गर्दा पनि सहज भएन ।
पर्यटन मन्त्रालयमा माग गरेको विवरण सूचना अधिकारी र प्रमुखले नदिएपछि जेठ ५ गते आयोगमा पुनरावेदन गरेँ । आयोगले जेठ १५ मा सूचना मागको निवेदन कार्यान्वयन गर्न मन्त्रालयलाई आदेश दियो । त्यसपछि मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले आलटाल गर्ने हिसाबले एकपाने विवरण उपलब्ध गराए । जसमा माग गरेको सूचना पर्याप्त थिएन । थप सूचनाका लागि केही समय कुर्न भने । मैले कुरेँ । सहप्रवक्ता प्रकाश शर्मा ढकालसँग सम्पर्क गर्न आग्रह गरेँ । सहप्रवक्तासँग समय मागेर भेट्न गएँ । उनले बोलाएको समयमा उनको कार्यकक्ष पुगेँ ।
सूचनाका लागि बोलाएर उनले मलाई कार्यालयको काम देखाउन थाले । ‘कामको चाप भएको बेला तपाईंलाई सूचना दिउँ कि मेरो काम गरुँ ?’ मैले भनेँ, ‘तपाईंको काम सक्नुस्, अनि सूचना दिनुस् ।’ उनी अर्का कर्मचारीसँग कार्यालयको फाइल पल्टाएर भट्याउन थाले । करिब एक घन्टापछि आँखा तर्दै सहप्रवक्ता ढकालले भने, ‘यहाँ तपाई किन बस्नुभएको ? सूचना भए अघि दिइहाल्थेँ नि π जानुस् ।’ म निस्केँ ।
अर्को दिन सूचना अधिकारीसँग समय लिएर कार्यालय गएँ । उनी सुरुमै कड्किए, ‘तपाईंलाई दिन मिल्ने सूचना दिएकै छौँ, जसले जे पनि माग्छ भन्दैमा दिनुपर्छ भन्ने छैन । म यहाँको सूचना अधिकारी हुँ, मैले जति दिनसकेँ, दिइसकेँ’ ।’ मैले भनेँ, ‘सूचनाको हक सम्बन्धी ऐनले जे दिनु भनेको छ, त्यही दिनुस्, सार्वजनिक महत्त्वका विषयमा नेपाली नागरिक सबैलाई सूचना पाउने अधिकार छ ।’ उनले प्रतिवाद गर्दै भने, ‘सूचना आयोगले जे पनि आदेश गर्न मिल्छ ? हामीलाई दुःख दिने ? आयोग राज्यको अंग भएर राज्यको गोपनीयता भंग गर्ने बाटो खुलाइदिने ?’ छेउमा बसेकी अर्की कर्मचारीले पनि उनको कुरामा सही थापिन् । त्यो माहोलले के भान हुन्थ्यो भने म सूचना आयोगको प्रमुख सूचना आयुक्त भएर पुगेको हुँ, सूचना अधिकारीले सूचनाको हकलाई संकुचन पार्ने सजिलो उपाय सुझाउँदैछन् । मै सूचना आयोगको जिम्मेवारी बोकेर पुगेको प्रतिनिधि नभई नेपाली नागरिक भएको हैसियतले सूचना माग्न गएको अडान लिएँ र भनेँ, ‘दिने भए सूचना दिनुस्, नभए के कारणले दिन मिल्दैन, आधिकारिक पत्र दिनुस् ।’ उनले जवाफ फर्काए, ‘दिन मिल्दैन, गैहाल्नुस् ।’
असार २० मा सूचना आयोग पुगेर पुनः ताकेता दर्ता गराएँ । आयुक्त यशोदादेवी तिम्सिनाले ‘मन्त्रालयका सूचना अधिकारीलाई दिनमिल्ने सूचना दिनू, नमिल्ने सूचना कारणसहित आधिकारिक चिठी लेखेर दिनू’ भनी सूचना अधिकारीलाई फोन सम्पर्कमा भनिन् । असार २५ मा ६१ पानाको ६१० रुपैयाँको हुलाक टिकट बुझाइ खामबन्दी सूचना लिएँ ।
पर्यटन बोर्डमा पनि उही कथा छ । सूचनाको हक अन्तर्गत निवेदन दर्ता गर्दा तत्कालीन सूचना अधिकारी सन्तोष पन्तले वेबसाइटबाटै लिन भने । जबकि वेबसाइटमा पर्याप्तै सूचना नै थिएन । आलटाल गर्ने काम गरेपछि आयोगमा पुनरावेदन गरेँ । कुनै प्रतिक्रिया नआएपछि असार ४ मा आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाकै अगाडि पुनः ताकेता बुझाएँ । असार २३ मा सूचना अधिकारी पन्तले आफैले प्रमाणित सूचना उपलब्ध गराए ।
यी केही प्रतिनिधि घटनामात्रै हुन् । ऐन बमोजिम सार्वजनिक महत्त्वका विषयमा सूचना माग्दा सम्बन्धित निकायले सूचना दिन कञ्जुस्याइँ गर्छन् । सार्वजनिक निकायहरूमा ‘मुस्कान सहितको सेवा’ नाराले सूचना अधिकारीहरूलाई गिज्याइरहे जस्तो लाग्छ । जस्तो केही हप्ताअघि समाज कल्याण परिषदका सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले पनि सूचना माग गर्दा तथानाम भने ।
सूचनाको हकको उपदफा ५ (१) र (२) भन्छ, ‘सूचना अद्यावधिक गरी राख्नुपर्ने र सार्वजनिक निकायले सम्भव भएसम्म यो ऐन लागू हुनुभन्दा कम्तीमा बीस वर्ष अघिसम्मका आफ्नो निकायसँग सम्बन्धित सूचना अद्यावधिक गर्नु/ गराउनुपर्ने’ उल्लेख छ । तर सूचना अधिकारीहरू तथ्याङ्कै नभएको भन्दै सूचना दिन चाहँदैनन् ।
संविधानको मौलिक हक अन्तर्गत धारा २७ ले भन्छ, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक छ ।’ अधिकारीहरू बहानाबाजी गरेर लुकाउन चाहन्छन् । गत जेठमा मैले काठमाडौं महानगरका सूचना अधिकारी र प्रमुखसँग सूचना मागेँ । प्रशासन विभागका तत्कालीन विभागीय प्रमुख ज्ञानेन्द्र कार्कीले ‘ऐन बमोजिम माग गर्नुको प्रयोजन स्पष्ट खुलाउनुपर्ने’ जवाफमा लेखे । मैले असार १ मा आयोगमा पुनरावेदन गरेंँ । असार ४ मा आयोगले सूचना दिन महानगरलाई आदेश दियो । असार १७ मा महानगरले ‘सूचना मागको प्रयोजन नखुलाई पुनः हालसम्म सूचना माग नगरेको’ जवाफ फर्कायो । जबकि सूचना मागको प्रयोजन खुलेकै कारण आयोगले पुनरावेदन अनुसार महानगरलाई आदेश गरेको थियो । त्यसपछि सूचना आयोगमा पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ भएको छैन ।
सूचनाको हक सम्बन्धी ऐन आएको १२ वर्ष भैसक्यो । यसमा सार्वजनिक महत्त्वको सूचना माग्ने र पाउने अधिकारलाई मात्रै लेखेको छैन । सार्वजनिक निकायमा रहेको कुनै लिखत, सामग्री वा सो निकायको कामकारबाहीको अध्ययन वा अवलोकन गर्ने, त्यस्तो लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने कुरा छ । सार्वजनिक महत्त्वको निर्माण कार्य भैरहेको स्थलको भ्रमण र अवलोकन गर्ने विषय छ । कुनै सामग्रीको प्रमाणित नमुना लिने वा कुनै पनि किसिमको यन्त्रमा राखिएको सूचना त्यस्तो यन्त्रमार्फत प्राप्त गर्ने अधिकार तोकिएको छ । विडम्बना, यो पहुँच सबैलाई छैन ।
उपत्यका बाहिरका एक पात्रले गत साउनदेखि सूचना आयोगमा तीन पटकसम्म ताकेता गरिसके । तर उनलाई सूचना उपलब्ध गराउने सम्बन्धित निकाय र आयोग दुवैले ‘रेसपोन्स’ गरेका छैनन् । के सूचनाको हक र सूचना आयोग उपत्यकामा भएका र पहुँचवालाहरूका लागिमात्रै हो ? मैले पर्यटन मन्त्रालय र बोर्डमा सूचना लिँदा आयुक्तहरूलाई भेटेर सूचना पाएजसरी ७७ वटै जिल्लाका नागरिकलाई सम्भव छ ? आयुक्तहरू नागरिकहरूले सूचना अधिकारीसँग सूचना नै मागेनन् भनेर सार्वजनिक थलोमा बोल्ने, सूचना अधिकारीहरूचाहिँ सूचना माग्नेलाई आलटाल गरिरहने हो भने नागरिकहरू सूचनाको पहुँचमा कसरी पुग्न सक्छन् ?

Page 7
विविधा

धार्मिक अतिवादविरुद्ध भारतीय जागरण

- हरि रोका

 

योचिसो मौसममा छिमेकी भारत गज्जवले तातेको छ । सुरुमा पूर्वोत्तर राज्य आसाम र त्रिपुराबाट आन्दोलन सुरु भएको थियो । नागरिकता संशोधन सम्बन्धी कानुन (सिटिजन एमेन्डमेन्ट एक्ट, सीएए) विरुद्धको आन्दोलनमा सबै खाले धर्मावलम्बी, पेसा–व्यवसायी, जात–जाति र भाषा–भाषी र सबै वर्गका मानिस होमिएका छन् ।
केही वर्ष अघिसम्म भारत ‘फरक–मत (डिसेन्ट)’ राख्न पाउने प्रजातान्त्रिक मुलुकका रूपमा चिनिन्थ्यो । उसका छिमेकी हामीहरू (नेपाल, बर्मा, बंगलादेश, श्रीलंका, अफगानिस्तान) आफ्ना देशमा हुने सबै खाले प्रजातान्त्रिक आन्दोलनमा त्यहाँका जनताले, खासगरी बौद्धिकहरूले ऐक्यबद्धता जाहेर गरिदिउन्, हामीमाथि भएका अन्याय विरुद्ध हातेमालो गरिदिउन् र हाम्रा विरुद्ध हुने दमनविरुद्ध आवाज उठाइदिउन् भन्ने आशा गरिरहन्थ्यौँ । सात दशकअघि बेलायती साम्राज्यबाट मुक्ति पाएको भारतमा साना–ठूला आन्दोलन भइरहन्छन् । कहिले प्रदेश टुक्र्याउने कुरामा, कहिले उच्च बाँधले पुर्‍याउने क्षति र मुआब्जा उपलब्ध नगराएकोमा । कहिले वन मासेको र वातावरणबारे ध्यान नदिएकोमा त कहिले सार्वजनिक उद्योग र कलकारखाना निजीकरण गरेकोमा र कहिले बढ्दो बेरोजगारी सम्बन्धमा । यस्ता आन्दोलन सरोकारवालाले गर्थे । यस पटक भारत संघीय सरकारले ‘फरक–मत’ माथि पुर्‍याउन खोजेको आघात विरुद्ध परिलक्षित छ ।

भाजपा सरकारको राजनीतिक जग
सन् २०१४ को आमनिर्वाचनमा ‘सबका साथ, सबका विश्वास’, ‘अच्छे दिन आएगा’ जस्ता नारा लगाएर नरेन्द्र मोदी नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) सत्तारुढ हुनपुग्यो । सरकारले केही समयपछि नै भारतीय रुपियाँमध्ये हजार र पाँच सयका नोटमाथि अकस्मात प्रतिबन्ध लगायो । ती नोटले सबै नोटहरू (सय, पचास, दस, पाँच, एक र सिक्काहरू) को ८० प्रतिशत भार ओगट्थे ।
मोदी सरकारले केही समयभित्रै धनीमानी व्यक्ति र शक्तिहरूले राजनीतिक पार्टीहरूलाई चन्दा दिँदा स्रोत खुलाउन नपर्ने वा कुन पार्टीलाई कति दिएँ भनेर उद्यमी व्यापारीले भनिरहनु नपर्ने छुट उपलब्ध गरायो । विस्तारै उच्चशिक्षामा दिइँदै आएका सहुलियतहरू कटौती गरिए । विश्वविद्यालयहरूको स्वायत्तताको हनन गर्न थालियो । कर्पोरेट बिजिनेस हाउसहरूलाई खानी र खनिजका स्रोत उत्खननका लागि जग्गा उपलब्ध गराउँदा आदिवासी जनजाति र कविलामाथि अत्याचार विस्तार गरियो । सोझासाझा मानिसमाथि अत्याचार भो भनेर बोल्ने सहरिया बुद्धिजीवी र मानव अधिकारकर्मीलाई ‘सहरिया नक्सल’ को अभियोगमा धर–पकड र मुद्दा लगाएर हिरासतमा लिने काम भयो । केही बुद्धिजीवी, लेखक तथा पत्रकारहरूको नियोजित हत्या हुनथाल्यो, तर सरकारले आँखा चिम्लियो । सन् १९१५ यता १ सय १३ मानिसको भिडले लखेटेर र कुटेर मार्ने (लिन्चिङ) अभियानमा मृत्यु भयो । गरिब मुसलमान र दलितहरू त्यस्ता भिडका सिकार भए । बैंकिङ ठगी (खासगरी सरकारी) र मुद्रा पलायन गराउने काम एकथरी उद्यमीको पेसा बन्न पुगे । संघीय र प्रदेश सरकारले गलत गरे भनेर आवाज उठाउने सबै पेसाकर्मी अराष्ट्रिय (एन्टी नेसनल) घोषित भए ।
मोदीको यो कार्यकालमा अरु नारा नलगाइएका होइनन्– ‘मेक इन इन्डिया’, ‘गंगा सफाइ अभियान’, ‘चर्पी बनाउ अभियान’, गुड्स एन्ड सर्भिस ट्याक्सको अवधारणा, ‘एक राष्ट्र एक कर प्रणाली’ । नोटबन्दी र जीएसटी केन्द्रीकृत र एकपक्षीय नीति अन्तर्गत संघ नियन्त्रित अर्थतन्त्रको अवधारणाबाट अभिप्रेरित थिए । तैपनि अर्थतन्त्र ओह्रालो लाग्यो । भारतीय सरकार आफैंले नियुक्त गरेका आर्थिक सल्लाहकार अरविन्द सुव्रमुन्यमले भारतीय आर्थिक वृद्धिको कथा झुठो रहेको तथ्य बाहिर ल्याए । राष्ट्रिय तथ्याङ्क विभागमा काम गर्ने दुई ख्यातिप्राप्त तथ्याङ्कशास्त्रीले सरकारले झुटो तस्बिर प्रकाशित गरेको अभियोग लगाए । सरकारले नै उजागर गर्नुपर्‍यो— मोदी कार्यकालको अन्तिम पाँच वर्षमा बेरोजगार दर बितेका ४५ वर्षभन्दा बढी रह्यो । ११७ मुलुकमध्ये भारत ग्लोबल हन्डर इन्डेक्समा १०२ स्थानमा छ (नेपाल ७३, बंगलादेश ८८ र पाकिस्तान ९४ औं स्थानमा छन्) ।
सन् २०१९ को चुनाव त जित्नै थियो, तर आर्थिक र सामाजिक हिसाबले उपलब्धिभन्दा असफलताको तौल बढी थियो । भाजपाले चुनाव जित्न हिन्दु र गैरहिन्दु बीचको विभाजन आवश्यक ठान्यो । बहुमतले शासन गर्नेगरी विभाजनको रणनीति अख्तियार गर्न उसको माउ संगठन राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस) दशकौँ भारतभर क्रियाशील छ, जसका ५७ हजार शाखा छन् भने लाठी र हतियारधारी ६ लाख स्वयंसेवक । लाखौँ बालबालिकालाई गेरुवा झण्डामुनि सञ्चालित गुरुकुलमा पढाइन्छन्, मेडिकल मिसन, ट्रेड युनियन, किसान मिसन, मिडिया आउटलेट, महिला समूह आदिलाई नियमित प्रशिक्षण दिइन्छ । बहुसंख्यक र अल्पसंख्यकको आगो बाल्न ऐनमौकामा पाकिस्तानी काश्मीरमा रहेका जेहादीहरूले पनि भाजपा सरकारलाई साथ दिने गर्छन्, भारतीय सुरक्षा फौजमाथि आक्रमण गरी भारतीय सरकारलाई पुरुषार्थ देखाउने मौका दिएर । अघिल्लो कार्यकालमा ‘दुई सर्जिकल एट्याक’ गर्ने अवसर दिएर उनीहरूले मोदी सरकारलाई महान राष्ट्रवादी, जुझारु, भारत रक्षक घोषित गर्ने अवसर दिए । राष्ट्रवादको यो आवरण, कर्पोरेटहरूको सहयोगमा करछुट सहित व्यापार वातावरण तथा आमरूपमा विभाजन र डरको वातावरण तयार पारेर सन् २०१६/१७ कै बीचमा भाजपा संसारकै सबैभन्दा धनी पार्टी बन्न पुग्यो । पछिल्लो आमनिर्वाचन अघि प्रकाशित आंँकडा अनुसार भाजपाको आम्दानी मोदी कार्यकालमा ८१ प्रतिशतले बढेको र दशकौँ राज गरेको कांग्रेसको आम्दानी भने १४ प्रतिशतले घटेको देखियो । धन र संगठित जनबलका आधारमा प्रायः सबै राष्ट्रिय मिडियालाई प्रयोग गर्न सफल भाजपाले २०१९ को निर्वाचनमा शक्तिशाली बहुमत ल्यायो ।

भाजपा सरकार–२.०, एनआरसी र सीएए
निर्वाचन जितेपछि मोदी सरकारले सबैभन्दा पहिला जम्मु र काश्मीरको प्रदेश सरकार विघटन गर्‍यो, जसमा उसको आफ्नै दलको पनि पार्टनरसिप थियो । अर्को गठबन्धन सरकार बन्ने वातावरण बन्दाबन्दै उसले प्रदेश संसदमात्र विघटन गरेन, प्रतिनिधिसभा तथा राष्ट्रियसभामा जम्मु तथा कास्मीर राज्यको स्वायत्तताको ‘स्पेसल स्ट्याटस’ छिनेर त्यसको विभाजन गर्ने विधेयक पास गरी तत्काल कानुन बनाएर लागू गर्‍यो । ५ महिनादेखि स्वायत्ततासहितको जम्मु–काश्मीरलाई भारतको अभिन्न अंग मान्ने प्रदेशका ४ हजार नेता, कार्यकता, व्यापारी, कानुनविद्, मानव अधिकारवादी, विद्यार्थी, ३ पूर्व
मुख्यमन्त्री कारावास सजाय भोगिरहेका छन् । टेलिफोन, इन्टरनेट जस्ता सञ्चारका माध्यमबाट पूरा काश्मीरलाई अलग राखिएको छ ।
पूर्वोत्तर राज्य असममा राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) को काम सुरु गरियो । यो अभियान छिमेकी मुलुकबाट गैरकानुनी रूपमा छिरेर कति बसोबास गरिरहेछन् भन्ने बुझ्न सुरुवात गरिएको भनिएको थियो । असममा पूरा भएपछि देशभरि नै पञ्जीकरण गर्ने लक्ष्य रहेको बताइएको थियो । २०१९ सेप्टेम्बरमा झन्डै २० लाख गैरकानुनी रूपमा आप्रवासी रहेको समाचार प्रकाशित भयो । यो तथ्याङ्क त्यस्तो बेला संकलन गरिएको थियो, जुन बेला आधाभन्दा बढी असमी ब्रह्मपुत्र र उसका सहायक नदीहरूको बाढीसँग जुधिरहेका थिए । ती २० लाख सवुत नभएका मानिसहरूमध्ये ६० प्रतिशत हिन्दु थिए, जोसँग सवुत थिएन, तिनीहरूलाई सरकारले भर्खरै खडा गरेका डिटेन्सन क्याम्पहरूमा लगिए । हिन्दुहरू नै मर्कामा परे भन्ने सार्वजनिक भएपछि अक्टुबर २ मा गृहमन्त्री अमित शाहले ‘टाइम्स अफ इन्डिया’ लाई बताए— पञ्जीकरणमा दर्ता नभएका सबै सरणार्थी जो हिन्दु, बुद्धिष्ट, सिख, जैन क्रिस्चियन र पारसी हुन्, उनीहरूले हतास हुन जरुरी छैन । उनीहरूलाई संशोधित नयाँ कानुन अनुसार नागरिकता दिइनेछ । नभन्दै नागरिकता सम्बन्धी संशोधित विधेयक गृहमन्त्रीले दुबै सदनमा पेस गरेर विपक्षीहरूको विरोध हुँदाहुँदै पनि हतारमा पास गराए । यो विधेयक धार्मिकतामा आधारित थियो । हिन्दु, सिख, बुद्धमार्गी, क्रिस्चियन, जोरोष्ट्रियनहरू अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउँछन् भने तिनले भारतीय नागरिकता पाउने तर मुस्लिम समुदायले पाउने छैनन् । सुन्नी समुदाय बाहेक पाकिस्तानी अल्पसंख्यक अहमदिया हुन् या अफगानिस्तानको सियाले समेत पाउने छैनन् । भारतीय संविधानको सबै जाति, भाषिक, धार्मिक तथा सांस्कृतिक समुदायमाथि विभेद नगरिने मूलभूत सिद्धान्त विरुद्ध थियो, त्यो विधेयक । डिसेम्बर ११ मा यो विधेयक भारतीय संसदबाट अनुमोदन भए लगत्तै असम र त्रिपुरामा यसको विरोध हुनपुग्यो, बंगलादेश लगायत अन्य देशका शरणार्थीहरू यी प्रदेशमा ओइरिने भयले । खासगरी बंगलादेशी हिन्दुहरू असम लगायत पूर्वोत्तर भारत बसोबासका लागि रोज्छन् । यो प्राथमिकतापूर्ण सम्बन्ध १९ औँ शताब्दीदेखि बेलायती कर्पोरेटहरूले असममा चिया बगान सुरु
गरेदेखिकै हो । पूर्वोत्तर भारतमा आदिवासीले मुसलमान र गैरमुसलमान भन्दा पनि समुच्च आप्रवासीलाई नै समस्या मान्ने गरेका छन् ।
असम काण्डपछि यो विधेयकको विरोध विश्वविद्यालयहरूमा सर्‍यो । जामिया–इश्लामिया विश्वविद्यालयका विद्यार्थीले संविधान हातमा लिएर भारतीय संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षता तथा समानता बारेको व्याख्या र वर्तमान कानुनको तुलना गर्दै आम–जनमानसमाझ विभेदबारे न्यायका लागि समर्थन गर्न अपिल गरे । सरकारलाई पचेन, उसले विश्वविद्यालयमा प्रवेश अन्धाधुन्द लाठीचार्ज मात्र गरेन, पुस्तकालय, वाचनालय, होस्टलहरूमा पसेर आजगनी र तोडफोड, पक्राउ र भयानक यातना दियो । दोस्रो दिन अलिगढ विश्वविद्यालयमा सरकारी अतिक्रमण र बर्बरता मच्चायो सरकारले । त्यसपछि उक्त संघर्षमा ऐक्यबद्धता व्यक्त गर्न देशका अधिकांश केन्द्रीय विश्वविद्यालयहरू सडकमा उत्रिए । कहिले आन्दोलनमा नउत्रिएका र उत्रने अपेक्षा नगरिएका इन्डियन इन्स्टिच्युट््स अफ म्यानेजमेन्ट तथा अल इन्डियन इन्स्टिच्युट अफ मेडिकल साइन्सेज जस्ता शिक्षण संस्थाका विद्यार्थीहरूसमेत सडकमा ओर्लिए । तीमाथि पनि सरकार जाइलागेपछि जनसमुदायको भिड सडकमा आउन थाल्यो । कुल आवादीको १४ प्रतिशत अर्थात २० करोड मुसलमानलाई उपेक्षा गरेर कथित बहुमतको आडमा ‘हिन्दु राष्ट्र’ घोषणा गर्ने मोदी सरकार र आरएसएसको यो अभियान विरुद्ध मानिसहरू विस्तारै सडकमा ओर्लिए । खास गरेर मुस्लिम धर्मावलम्बीका लागि लड्नुको अर्को विकल्प पनि देखिन्न । यो आन्दोलनमा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको संकटकाल विरुद्धको संघर्षभन्दा पनि कैयौँ गुणा जोश बोकेर मानिस सडकमा ओर्लिएका छन् ।

मोदी–शाह आकांक्षा र छिमेक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह भारतमा बहुमतको आतंक फैलाएर हिन्दुत्वको नाममा एकतन्त्रीय केन्द्रीकृत राज्य स्थापित गर्न चाहन्छन् । यो अर्थ–राजनीतिक अभ्यासको सैद्धान्तिक स्रोत हो, गुजरात मोडल । यो अर्थ–राजनीतिक मोडल मोदीको राजनीतिक करियरसँगै अर्थात २००१ अक्टुबरदेखि नै सुरु भएको हो, अमेरिकामा ९/११ घटनाको ठिक एक महिनापछि । भाजपाले भइरहेका मुख्यमन्त्री हटाएर अनिर्वाचित मोदीलाई मुख्यमन्त्री पद सुम्पिएको थियो । उनी मुख्यमन्त्री भएको तीन महिना नबित्दै हिन्दु तीर्थयात्रीहरू चढेको रेलमा शंकास्पद ढंगले दोधारा स्टेसनमा आगजनी गरियो, जसमा ५९ हिन्दु तीर्थयात्री मारिए । मुसलमानहरूले रेलमा आगो झोसे भन्ने हौवा फिँजाएर बदलाभाव लिएर मुस्लिम विरोधी दंगा फैलियो । दिनको उज्यालोमा झन्डै २ हजार ५ सय मुसलमान मारिए । हजारौँ घर उजाडिए, उनीहरूका हातमा रहेको उद्यम, व्यवसाय कौडीको भाउमा छोडेर हिँड्नुपर्ने वातावरण तयार भयो । मुसलमानपछि दलितहरूको ‘लिन्चिङ’ सुरु भयो, त्यसपछि आदिवासी त्यही नियतको सिकार भए । सत्तारुढ दल र तिनका नेता–कार्यकर्तामा समेत ‘सेयर’ भाग लाग्नेगरी आर्थिक उन्नति गर्न स्वदेशी र विदेशी बहुराष्ट्रिय निगमहरू निम्त्याइए । यो मोडल बहुमतको आतंकमा स्थापित भयो । गुजरातमा तीन निर्वाचनको सफलतम प्रयोगपछि मोदी सन् २०१४ मा संघीय राजधानीमा आए र भारतीय राष्ट्रिय कांग्रेसलाई पराजित गरेर सत्तारुढ हुनपुगे ।
शाह–मोदीको जोडीलाई महात्मा गान्धी र नेहरूको धर्म निरपेक्षतालाई मनपर्दैन, स्वतन्त्र छिमेकीहरूलाई बलजफ्ती भए पनि भारतमा गाभ्नुपर्छ भन्ने मान्यता राख्ने सरदार बल्लभभाइ पटेल मनपर्छ । पटेलका नाममा संसारकै ठूलो मूर्ति ठड्याएका उनीहरू गान्धी–नेहरूको असंलग्न परराष्ट्रनीतिमा आधारित अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धको जरोकिलो उखेल्न चाहन्छन् । उनीहरूलाई सार्क र बीआरआई मनपर्दैन, बिमस्टेक मनपर्छ । साँघुरो र सानो भए पनि बीबीइन (बंगलादेश, भूटान, इन्डिया नेपाल गठबन्धन) मनपर्छ, किनकि पाकिस्तान नहुँदा आफ्नो हैकम सिधा लागू गराउन सकिन्छ । यही हैकमवादी सोचले नै अहिले प्रायः सबै छिमेकी सशंकित छन् । सम्बन्ध औपचारिकतामा सीमित हुँदै गइरहेको छ ।
बेलायती साम्राज्यवादबाट मुक्ति पाएको ७३ वर्षपछि पनि बहुसंख्यक भारतीयहरू आमरूपमा गरिबी र अन्यायमा झुल्सिरहेका छन् । हाल १ सय ३८ जना डलर–अर्बपति रहेको भारतमा ९२ प्रतिशत महिला र ८२ प्रतिशत पुरुष रोजगारले महिनाको १० हजार रुपैयाँभन्दा कम आर्जन गर्छन् । एक्काइसौँ शताब्दीमा यस्तो विषमतापूर्ण समाज दक्षिण एसियाली मुलुकबाहेक अन्यत्र छैन । असमान समाजमा असन्तोष र विद्रोहलाई साम्य पार्न एक व्यक्ति हिरोइजमको संस्कृति खडा गरेर तिनले लडिदिन्छन् भन्ने आस देखाइएको छ । टाल्न नसक्ने अवस्था फेरि निर्माण हुँदा हिन्दु–मुस्लिम, बहुसंख्यक–अल्पसंख्यकको विभाजनको गहिरो खाडल मोदी सरकारले कोर्ने काम गरेको छ, जुन नाजी जर्मनीले यहुदीविरुद्ध गरेको खतरनाक खेलभन्दा पनि गम्भीर देखिन्छ । नाजी र फासीवादको आगोले जसरी युरोपलाई ध्वस्त बनायो, दक्षिण एसियालाई यो नग्न धार्मिक अतिवादको डढेलोले ध्वस्त पार्न सक्छ । नेपालसँग खुला सिमाना छ, त्यसको प्रत्यक्ष–अप्रत्यक्ष असर डरलाग्दो ढंगले पर्न सक्छ । सम्भवतः मुगलहरूको पछिल्लो हिन्दुस्तान आक्रमणभन्दा पनि चर्को व्यवधान खडा हुनसक्छ । बेलैमा सचेत रहनु राम्रो ।

विविधा

शिक्षण संस्थाहरू बने राष्ट्र बन्छ

- डा. जयराज आचार्य

 

केही समय अगाडि मलाई रनभ्यान नामक एक संस्थाले आफ्नो वार्षिक साधारण सभामा प्रमुख अतिथिको रूपमा बोलाएको थियो । रनभ्यान राष्ट्रसंघको स्वयंसेवी कार्यक्रममा गएर विश्वका धेरै द्वन्द्वग्रस्त देशहरूमा भौतिक तथा प्रशासनिक पुनर्निर्माण र अन्य धेरै काम गरेको अनुभव सँगाली स्वदेश फर्केका नेपालीहरूको संस्था हो । त्यस सभामा जम्मा एक लाख जनसंख्या भएको सुदूर दक्षिण–पूर्वीय प्रशान्त महासागरीय टापु टोङ्गादेखि आन्ध्र महासागरको पश्चिमी छेउ हैटीसम्म काम गरेका महिला तथा पुरुषहरू हुनुहुन्थ्यो । धेरैले अफगानिस्तान, सुडान, बुरुन्डी, कोसोभो जस्ता ठाउँमा ज्यादै जोखिमपूर्ण अवस्थामा काम गरेका । अफगानिस्तान जस्तो देशमा महिलालाई असमान व्यवहार गर्ने तालिबानहरूसित पनि काम गरेका नेपाली महिलासमेत त्यहाँ हुनुहुन्थ्यो । त्यो थाहा पाउँदा मलाई एक रोमाञ्चकारी अनुभव भयो । त्यहाँ मैले एउटा छोटो सम्बोधन गरेंँ, जसको सारांश यस्तो थियो ः
तपाईंहरू विश्वका अनेक देशमा गएर जोखिमपूर्ण परिस्थितिमा काम गरेको अनुभव लिएर आउनुभएको छ । हाम्रा लागि तपाईंहरू एउटा सानो राष्ट्रसंघ नै हुनुहुन्छ । तपाईंहरू समक्ष उभिएर केही बोल्न लाग्दा मलाई के भनूँ, के भनूँ जस्तो लागेको छ । त्यसैले बीपी कोइरालाले २०१६ सालमा राष्ट्रिय योजना आयोगको बैठकलाई सम्बोधन गर्दैगर्दा भनेको कुराको अहिले मलाई याद आइरहेछ । नेपालको इतिहासमा प्रथम निर्वाचित प्रधानमन्त्रीका हैसियतले बोल्दा उहाँका मनमा देशको परिस्थिति खासगरी नेपालको अविकसित अवस्था र जनतामा व्याप्त अशिक्षा र गरिबीको चित्र थियो । त्यसकारण उहाँले भन्नुभयो, ‘तपाईंहरूले योजना आयोगको भित्तामा राजाको फोटो त राख्नुभएकै छ । अब एउटा झोपडीको अगाडि हलोसँगै उभिएको गरिब नेपाली किसानको फोटो पनि भित्तामा झुन्ड्याउनोस् । अनि नेपालको विकासको योजना बनाउँदा आफैलाई सोध्नोस्, ‘मैले बनाएको यस योजनाले त्यस गरिब किसानको जीवनमा के सुधार ल्याउन सक्छ ? के परिवर्तन ल्याउन सक्छ ?’ तपाईंहरूले बनाएको योजनाको मुख्य लाभ उसले पाउनुपर्छ ।’
आज तपाईंहरूले देश–विदेशबाट ल्याएको ज्ञान र अनुभव नेपालको अमूल्य निधि हो । अब यो निधिलाई हामीले कसरी सदुपयोग गर्ने भन्नेमात्र प्रश्न छ । अब तपाईहरूले आफैलाई सोध्नुपर्छ, ‘मैले विदेशमा कठिन परिस्थितिमा काम गरेर ल्याएको मेरो अनुभवले नेपालको विकासका चुनौतीलाई कसरी सम्बोधन गर्न सकिन्छ ? म मेरा देशका जनतालाई के दिन सक्छु ?’ हामी सबैलाई थाहा छ, नेपाल दस वर्ष लामो युद्धबाट गुज्रिएर अनि भूकम्प लगायत अनेक विपत्ति पार गर्दै फेरि उठ्ने प्रयास गरिरहेछ ।
मैले बारम्बार भन्ने गरेको छु– शिक्षित देश धनी र विकसित छन् । अशिक्षित देश गरिब र अविकसित छन् । नेपाल अविकसित छ, किनकि यहाँ अझै पनि धेरै अशिक्षा छ । यति साधारण कुरा पनि नबुझेझैं गरी हालका हाम्रा नेताहरूले शिक्षाको विकासमा किन धन र श्रम लगाएका छैनन् ? उदेकलाग्दो कुरा छ । युजिन ब्रामर मिहालीको ‘फरेन एड यान्ड पोलिटिक्स इन नेपाल’ भन्ने किताब हेर्नुहोला । नेपाल सरकारले २०१६ सालमा १,६०० र २०१७ सालमा ६०० प्राथमिक विद्यालय खोलेको थियो । त्रिभुवन विश्वविद्यालय पनि २०१६ सालमै खोलिएको हो । त्यतिखेर सरकारलाई देश विकास कसरी गर्ने हुटहुटी थियो । अहिले पनि त्यही हुटहुटी हुनुपर्ने हो । तर आज देशको पहिलो र पछिपछि खुलेका अन्य विश्वविद्यालयहरू राजनीतिक भागबन्डा र गुणस्तरहीनताको केन्द्र बनेका छन् । निराशाजनक प्राज्ञिक स्थिति छ । तर देश विकासको लागि सरकारको मात्र मुख ताक्ने पक्षमा म छैन । त्यसैले हामीले व्यक्तिगत रूपमा वा यस समूहको तर्फबाट सामूहिक रूपमा के गर्न सकिन्छ ? त्यो सोचौं ।
यतिखेर म डा. सुरेशराज शर्माको नाम लिन चाहन्छु, जसले आफूले जीवनभर सँगालेको शिक्षा क्षेत्रको अनुभवका आधारमा काठमाडौं विश्वविद्यालय खडा गरेर देशलाई दिनुभएको छ । त्यहाँ आज विदेशका समेत विद्यार्थी आएर पढिरहेछन् । नेपालका अन्य विश्वविद्यालयको भन्दा काठमाडौं विश्वविद्यालयको शिक्षाको गुणस्तर माथिल्लो पनि छ । एक दिन मलाई सुरेशराज सरले आफ्नो ‘बिर्सन नहुनेहरू’ भन्ने सानो किताबको भूमिका लेखिदिनुपर्‍यो भन्नुभयो । त्यसमा शिक्षा क्षेत्रका तीन, प्रशासन क्षेत्रका तीन, स्वास्थ्य क्षेत्रका तीन र दाताहरूमध्ये तीन गरी बाह्रजना नेपालीबारे संक्षिप्त बाह्र अध्याय छन् । शिक्षा क्षेत्रका तीन जनामा स्व. शंकरदेव पन्त, स्व. अमृतप्रसाद प्रधान र पृथ्वीनारायण क्याम्पस पोखराका संस्थापक जर्ज जोन हुनुहुन्छ । म आफू सानो मानिस हुनाले संकोच मानी–मानी भूमिका लेखेँ, ‘आज स्वर्गबाट शंकरदेव पन्त र अमृतप्रसाद प्रधानको आत्माले भनेको होला, बाबु सुरेशराजजी, हामीले त देशलाई एउटा–एउटा कलेजमात्र दिएर आएका थियौं, तिमीले त विश्वविद्यालय नै दियौ, तिम्रो दीर्घायु होस् । हाम्रो यही आशिर्वाद छ ।’ शिक्षण संस्था खोल्नु राष्ट्रनिर्माणको जग हाल्नु हो ।
अनि म लमजुङ दुराडाँडाका स्व. श्रीकान्त अधिकारीलाई पनि सम्झन चाहन्छु । कारण उही छ । २००८ साल साउनमा दुराडाँडा मौजा (आजकालको गाउँपालिका) मा श्रीकान्त अधिकारी समेतका अग्रजहरूको अगुवाइमा एकैपटक चौधवटा प्राइमरी स्कुल स्थापना गरिए । स्वयंसेवी युवाहरूले निःशुल्क शिक्षादान गरे । पछि ती चौधमध्ये बाह्रवटा विद्यालयले सरकारी स्वीकृति पाए । अनि २००९ साल कात्तिकमा सर्वोदय मिडिल स्कुल स्थापना गरियो । त्यसमा पनि श्रीकान्तजीको प्रमुख योगदान रह्यो । आज त्यस स्कुलका उत्पादनहरू धेरै डाक्टर, इन्जिनियर, प्रशासक, शिक्षाविद् भई जापान, अष्ट्रेलियादेखि बेलायत, अमेरिका, क्यानाडा लगायत संसारभरि फैलिएका छन् । त्यसैगरी श्रीकान्त अधिकारीले घर–घरबाट मुठीदान गरी पाणिनि संस्कृत हाइस्कुल पनि खोल्नुभयो । एक घरबाट एक मुठी चामल दिनाले गाउँमा एक विद्यालय चलाउन सकिन्छ भनेर देखाइदिनुभयो । त्यो उहाँको कीर्ति र राष्ट्रिय योगदानको नमुना हो । त्यसैले म दोहोर्‍याएर भन्न चाहन्छु, शिक्षण संस्था खोल्नु यशस्वी काम हो, राष्ट्रनिर्माणको जग हाल्नु हो ।
म प्रस्तावित गण्डकी विश्वविद्यालयको पनि अलिकति चर्चा गर्न चाहन्छु । यो विश्वविद्यालय पोखरा नगिचै पृथ्वी राजमार्गको छेउमा खोल्ने विचार गरिएको छ भन्ने सुनेको छु । तर पोखरा विश्वविद्यालय त छँदैछ, विश्वविद्यालय जस्तै ठूलो पृथ्वीनारायण क्याम्पस पनि छँदैछ, नगिचै एउटा थप विश्वविद्यालय किन चाहियो भन्ने प्रश्न पनि उठेको छ । ठिक हो । हाल चलिरहेका राजनीतिक भागबन्डाका विश्वविद्यालय वा कलेज, क्याम्पसजस्तै अर्को गुणस्तरविहीन विश्वविद्यालय चाहिएको छैन । तर साँच्चैको गुणस्तर भएको विश्वविद्यालय, कलेज वा हाइस्कुल पनि चाहिएको छ । साँच्चै भन्ने हो भने त्यस्तो प्राथमिक विद्यालयकै पनि खाँचो छ । व्यावसायिक सीप सिकाउने तालिम केन्द्रहरूको त झनै आवश्यकता छ । बेरोजगार हुने स्नातकहरू उत्पादन गर्ने विद्यालयको चाहिँ कुनै आवश्यकता छैन । सम्बन्धन दिएर पैसा लिने अर्को विश्वविद्यालय पनि चाहिएको होइन ।
अमेरिकाको बोस्टन सहर र त्यसको आसपास क्षेत्रमा मात्र पैंतीसवटा विश्वविद्यालय र कलेज छन् । हार्वर्ड र एमआईटी विश्वकै सर्वोत्कृष्ट शिक्षण संस्था पनि केवल आधा घन्टाको पैदलयात्रा दूरीमा त्यहीं छन् । त्यसकारण बोस्टन सहरका निवासीहरू गर्वसाथ भन्छन्, ‘बोस्टन विश्वको बौद्धिक ऊर्जाघर (पावरहाउस) हो ।’ हिजो त्रि–चन्द्र कलेजमात्र रहेको काठमाडौं सहरमा पनि आज दर्जनौं कलेज छन् । समस्या संख्याको होइन, गुणस्तरको हो । त्यसैले म अनुरोध गर्छु— शिक्षा क्षेत्रमा एउटा उच्च गुणस्तरीय काममा हाम्रो शक्ति, बुद्धि र साधनस्रोत लगाऊँ र एउटा चिरस्मरणीय योगदान गरौं ।
यस प्रसङ्गमा स्व. विद्वान् यदुनाथ खनालसित भएको एउटा कुराकानीको सम्झन चाहन्छु । मैले एक दिन उहाँलाई सोधेँ, ठूलो मानिस कसलाई भन्ने ? धेरै धनीलाई ? राजालाई ? राष्ट्रपतिलाई ? प्रधानमन्त्रीलाई ? वीर योद्धालाई ? कसलाई ? उहाँले भन्नुभयो, ‘जसले संस्था बनाउँछ, उसलाई ठूलो भन्नुपर्छ ।’ मेरो चित्त बुझ्यो । उहाँले थप्दै भन्नुभयो, ‘आज बेलायतबाट अक्सफोर्ड र केम्ब्रिज विश्वविद्यालय झिकिदिने हो भने त्यससित अरू के नै रहन्छ र ?’ मेरो चित्त झनै बुझ्यो । हुन पनि, आज एक हजार वर्ष पुरानो अक्सफोर्ड, नौ सय वर्ष पुरानो केम्ब्रिज, चार सय वर्ष पुरानो हार्वर्ड । अनि जम्मा साठी वर्ष पुरानो मेरो त्रिभुवन विश्वविद्यालय । त्यो पनि भागबन्डाको सिकार । टीबी रोग लागेको मरणासन्न बिेरामीजस्तो । कति टिठलाग्दो कुरा छ ?
कुनै राष्ट्र सफल या असफल हुने, विकसित या अविकसित हुने कुरा त्यसका संस्थाहरूमा भर पर्छ । यसबारे एमआईटीका दुई प्रोफेसरहरू जेम्स रबिन्सन र डारोन आसमोग्लुको विश्व प्रसिद्ध किताब पनि यहाँहरूले पढ्नुभएकै होला, ‘ह्वाइ नेसन्स फेल’ । उनीहरू त्यस किताबमा सप्रमाण त्यही भन्छन् । जुन देशमा संस्थाहरू विकसित भएका छन्, ती आर्थिक लगायत सबै दृष्टिले सम्पन्न हुन्छन्, जुन देशमा संस्थाहरू विकसित भएका छैनन्, ती अविकसित, असुरक्षित र असफल हुन्छन् । उनीहरूले भनेको संस्था शिक्षण संस्थामात्र होइन । अदालत, प्रशासन, राजनीति र मुख्यतया कानुनको राज्य हो । मलाई लाग्छ, ती संस्थाको विकासका लागि पनि शिक्षण संस्था नै चाहिन्छ । शिक्षा नभएको देशमा अदालत, प्रशासन, राजनीति र कानुनको राज्यको अवधारणा विकसित हुनै सक्तैन । बेलायतमा लिखित संविधान नहुँदा पनि प्रजातन्त्रको त्यति पुरानो अभ्यास चालु रहनुका कारण कानुनी राज्यको संस्कार र त्यो संस्कार विकसित गर्ने शिक्षण संस्थाहरू नै हुन् ।
त्यसैले मेरो अनुरोध छ कि हामी नेपालको शिक्षा विकासका क्षेत्रमा सानै भने पनि केही काम गरौं । दिनको एक मुठी अन्न उठाएर विद्यालय चलाउने श्रीकान्त अधिकारीलाई सम्झौं । तपाईं–हामी जो पनि महिनाको पाँच सय रूपियाँ दान गर्न सक्छौं । त्यो भनेको दिनको सत्र रूपियाँ जति हो । आजकल सय रुपियाँले एकछाक तरकारी आउँदैन । महिनामा पाँच सय दिने जम्मा एक सयजना भयौं भने पचास हजार हुन्छ । त्यस्ता दुई सय मानिस भइयो भने त एक लाख नै हुन्छ । वर्षदिनमा बाह्र लाख हुन्छ । त्यसले एउटा छात्रवृत्ति खडा हुनसक्छ । अथवा काठमाडौं विश्वविद्यालयमा रनभ्यान प्रोफेसर अफ डिभलपमेन्ट इकोनोमिक्सको इज्जतिलो चेयर खडा हुनसक्छ । अथवा त्यो रकम महावीर पुनजस्ता त्यागी, कर्मठ, देशभक्त वैज्ञानिकको आविष्कार केन्द्रलाई वर्षैपिच्छे दिन पनि सकिन्छ । देशका लागि मरिमेट्ने उहाँले आफ्नो म्यागासेसे मेडल लिलाममा राखेको छ भन्ने पनि सुनेको थिएँ, त्यो एक लज्जास्पद विडम्बना हो ।
गोर्खाको बिसे नगर्चीले एक रुपियाँ चन्दा दिएर सुरु गरेको अभियानले आजको नेपाल एकीकरण भएको हो । त्यो नबिर्सौं । निसाफ हराए गोर्खा जानू भन्ने उखान नबिर्सौं । स्वच्छ निसाफ हुने व्यवस्था नै राष्ट्र बनाउने संस्था हो । त्यसको आधुनिक आधार निर्माण गर्ने पनि शिक्षण संस्थाले नै हो, जसले ज्ञान पैदा गर्छ । त्यसमा लगानी गरौं ।

Page 8
विदेश

अस्ट्रेलियामा बर्सेनि किन डढेलो ?

घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र गतिको हावाका कारण गर्मीयाम सुरु भएसँगै हरेक वर्ष डढेलो फैलिने गरेको छ । साथै, अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण डढेलो अनियन्त्रित हुने गरेको हो ।
- नारायण खड्का
अस्ट्रेलियाको न्यू साउथ वेल्सस्थित ब्ल्याकहिथमा फैलिएको डढेलो ।तस्बिर ः एपी

(अस्ट्रेलिया) - चार महिनाअघिदेखि सुरु भएको डढेलोले अस्ट्रेलियाका अधिकांश राज्यहरूमा जनजीवन प्रभावित बनाएको छ । सेप्टेम्बर ५ देखि फैलिएको आगलागीका कारण अस्ट्रेलियामा दुईजना अग्नि नियन्त्रकसहित १० जनाले ज्यान गुमाइसकेका छन् ।
तीमध्ये न्यु साउथ वेल्समा ८ र दक्षिण अस्ट्रेलियामा दुईको मृत्यु भएको हो । न्यु साउथ वेल्सको रुरल फायर सर्भिसका अनुसार यस राज्यमा मात्र आगलागीका कारण ३० लाख हेक्टर बढी क्षेत्रफलमा क्षति पुगिसकेको छ । ८ सय ७३ घरहरू जलेका छन् भने २ हजार ३ सय ५३ बढी भौतिक संरचनामा क्षति पुगेको छ । त्यसबाहेक दक्षिण अस्ट्रेलिया, भिक्टोरिया, क्विन्सल्यान्ड, पश्चिम अस्ट्रेलिया, तास्मानियालगायत राज्यमा समेत घर तथा भौतिक संरचनामा क्षति पुगेको छ ।
गर्मीयाम सुरु भएदेखि तापक्रम बढ्ने क्रममा निरन्तरता आएपछि डढेलो नियन्त्रणमा आउनुको साटो झन् फैलिएको छ । डढेलो अनियन्त्रित बन्दै गएपछि उच्च गर्मीको समयमा झन् ठूलो विपद आउन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।
अस्ट्रेलियामा करिब १ सय ५० वर्षदेखि डढेलोले दुःख दिँदै आएको छ । तर पनि यस वर्षको आगलागी अन्य वर्षहरूको भन्दा फरक र डरलाग्दो भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हाल डढेलो नियन्त्रणका लागि विभिन्न राज्यमा हजारौं अग्नि नियन्त्रक खटिएका भए पनि उनीहरूको प्रयास विफल देखिएको छ ।
सरकारी तथ्यांकअनुसार अस्ट्रेलियामा १ सय ३४ मिलियन हेक्टर जंगल छ, त्यसमध्ये करिब २ मिलियन हेक्टर व्यावसायिक रूपमा लगाइएको जंगल हो । सरकारको जियोसाइन्स विभागका अनुसार डढेलो फैलन त्यस्तो जंगलले सहयोग पुर्‍याउने गरेको छ । त्यसबाहेक मानवीय लापरबाहीका कारण डढेलो फैलिने गरेको छ । रूखबाट झरेका पात, हाँगा र सुकेका रुखले डढेलो थप फैलिने गरेको छ । त्यसैगरी, तीव्र गतिको हावाले सल्केको आगोलाई थप फैल्याउने गरेको छ ।
त्यसबाहेक खडेरी तथा सुक्खा, बढ्दो तापक्रमसमेत आगालागी फैलिन सहयोग पुर्‍याउने गरेको छ । भिरालो क्षेत्रका आगलागी छिटो फैलिने तथा अग्नि नियन्त्रकलाई नियन्त्रणमा लिन गाह्रो हुने भएकाले समेत समयमै डढेलो निभाउन नसकिएको हो । अत्यधिक गर्मी, सुक्खा मौसम आगलागीका मुख्य कारण हुन् । बीबीसीका अनुसार अस्ट्रेलियाको तापक्रम करिब १ सय वर्षको अवधिमा १ डिग्री सेल्सियसले बढिसकेको छ भने दुई साताअघि अहिलेसम्मकै औसत तापक्रम ४१.९ डिग्री मापन गरिएको थियो, जुन अहिलेसम्मकै उच्च हो ।
वैज्ञानिकहरूले डढेलोका कारण उत्पन्न कार्बनडाइअक्साइडलाई पूर्णरूपमा ग्रहण गर्न यहाँका जंगल असमर्थ हुन सक्नेतर्फ सचेत गराएका छन् । त्यसैगरी, उनीहरूले लगातारको आगलागीका कारण यहाँ सुक्खा अझ बढ्न सक्नेतर्फ समेत चिन्ता व्यक्त गरेका छन् ।
युनिभर्सिटी अफ तास्मानियाको फायर सेन्टरका निर्देशक डेभिड ब्राउनले भौगोलिक अवस्था र सबै डढेलो प्रायः एकै समयमा लाग्नुले आगलागी अभुतपूर्व भएको बताएका छन् । उनले आगलागीका कारण जनजीवन प्रभावित त छ नै मुख्य कुरा यसबाट सृजना हुन सक्ने र भइरहेको समस्यालाई स्विकार्नुपर्ने जनाएका छन् । अस्ट्रेलियामा अनियन्त्रित भइरहेको डढेलोको मुख्य कारण जलवायु परिवर्तन भएको चर्चा चलिरहेको समयमा अस्ट्रेलियाली सरकारले समेत यसलाई स्वीकार गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले जलवायु परिवर्तनले डढेलो लाग्नुमा केही भूमिका खेलेको भए पनि पूर्णरूपमा जलवायु परिवर्तन नै जिम्मेवार भने नभएको बताएका छन् । तर विपक्षी दल लेबरका नेता एन्थोनी अल्बानिजले भने सरकारले जिम्मेवार भएर जलवायु परिवर्तनको नीति ल्याउन नसकेको बताएका छन् । यता जलवायु परिवर्तनलाई कम प्रभावकारी
नीति ल्याउनुपर्ने भन्दै समयसमयमा प्रदर्शनसमेत भइरहेका छन् ।
अस्ट्रेलियास्थित वातावरणीय संस्था ‘क्याइमेट काउन्सिल’ ले एक महिनाअघि सार्वजनिक गरेको एक अध्ययनमा जलवायु परिवर्तन अहिले भइरहेको डढेलोको कारण भएको जनाएको छ । उसले अस्ट्रेलियाको डढेलोको खतरालाई यहाँको खडेरी, अत्यन्तै सुक्खा माटो र अत्यधिक बढी तापक्रमले प्रोत्साहित गरेको जनाएको छ । काउन्सिलले पानी पर्ने क्रम न्यून भएको, वनस्पतिहरू अत्यन्तै सुक्खा भएको, खडेरी परेकोलगायतका घटनाहरूले डढेलोलाई प्रोत्साहित गरेको उल्लेख गरेको छ ।
अस्ट्रेलियाले सन् १८५१ देखि नै डढेलोका कारण ज्यान गुमाउनुपरेको तथ्यांक छ । उपलब्ध तथ्यांकअनुसार डढेलोका कारण धनजनको क्षति मुख्य गरेर डिसेम्बरदेखि फेब्रुअरी महिनामा भएका छन् । यसैका कारण अस्ट्रेलियाले हरेक वर्ष ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ । अस्ट्रेलियाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा डरलाग्दो आगलागीको घटनालाई ‘ब्ल्याक स्याटर्डे’ को नामले चिनिन्छ । २००९ को ७ फेब्रुअरीदेखि १४ मार्चमा फैलिएको आगलागीमा १ सय ७३ जनाले ज्यान गुमाएका थिए भने ४ सय बढी घाइते भएका थिए । जसमा २ हजार बढी घर जलेर नष्ट भएका थिए । सोही संख्यामा अन्य भौतिक संरचना
क्षतिग्रस्त बने ।
अस्ट्रेलियोको भिक्टोरियामा सन् १९३८ को डिसेम्बर र १९३९ को जनवरीसम्म लागेको डढेलोमा परी ७१ जनाले ज्यान गुमाएका थिए । यस घटनालाई अस्ट्रेलियामा ‘ब्ल्याक फ्राइडे बुस फायर’ ले जानिन्छ । यस आगलागीमा ३ हजार ७ सय भौतिक संरचना तथा घरहरू क्षतिग्रस्त बनेका थिए भने करिब ५० लाख हेक्टर क्षेत्रफलमा क्षति पुगेको थियो ।

विदेश

विमान दुर्घटनामा १२ को मृत्यु

- एजेन्सी

नुर–सुल्तान – कजाखस्तानमा शुक्रबार भएको यात्रुवाहक विमान दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूका अुनसार बेक एयरको विमान शुक्रबार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेर नजिकै रहेको एउटा भवनमा जोतिएको थियो । दुर्घटनापछि विमानमा आगो नफैलिएका कारण अधिकांश यात्रुलाई जीवितै उद्धार गर्न सम्भव भएको हो ।
बीबीसीका अनुसार विमानमा सय यात्रु र चालक दलका सदस्य रहेका थिए । अधिकारीका अनुसार ६० जनालाई उद्धार गरी अस्पताल लगिएको छ । तीमध्ये केही बालबालिका छन् । विमान दुर्घटनाको कारण भने थाहा हुन नसकेको जनाइएको छ ।
विमानस्थलले जीवितै उद्धार गरी अस्पताल लगिएका ६० जनाको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ । कजाखस्तानको गृह मन्त्रालयका अनुसार दुर्घटनामा विमानका क्याप्टेनसहित १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
मृत्यु हुनेमा ५ बालबालिका र ३ शिशु छन् । यसअघि केही सञ्चारमाध्यमले दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ रहेको जनाएका थिए । विमान कजाखस्तानको ठूलो सहर अल्माटीबाट राजधानी नुर–सुल्तानका लागि उडेको थियो । अल्माटी विमानस्थलका स्रोतका विमान उडेको केही छिनमै एक संरचनामा ठोकिएलगत्तै दुईतले भवनमा जोतिएको थियो ।
घाइते यात्रुहरूका अनुसार विमानको भग्नावशेषबाट बाहिर निस्किँदा अँध्यारो थियो र हलुका हिउँ परिरहेको थियो । सरकारले दुर्घटनाबारे अध्ययन गर्न समिति गठन गरेको जनाएको छ ।
घटनास्थलनजिकै रहेका रोएटर्स समाचार संस्थाका एक संवाददाताका अनुसार उक्त क्षेत्रमा बाक्लो कुहिरो लागेको थियो । आपत्कालीन सेवाका कर्मचारीहरू उद्धारका लागि दुर्घटनास्थल पुगेका थिए ।
टेंगी न्युजका अनुसार एक यात्रुले दुर्घटना हुनअघि केहीबेर विमान हल्लिएको भए पनि यात्रुहरूमा कोलाहल नमच्चिएको जनाएको छ ।
कजाखस्तानका राष्ट्रपतिले दुर्घटनाबारे सत्यतथ्य छानबिन गरी जिम्मेवार अधिकारीमाथि कारबाही गरिने बताएका छन् ।

विदेश

सोचेजस्तो सहज छैन कोरिया

(सोल) - दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आएका पाल्पाका कुशबहादुर थापाले दुई साताअघि आत्महत्या गरे । दिनभर कम्पनीमा काम गरेका उनी बेलुकी ओभरटाइम नगरी सबैभन्दा पहिले कोठा फर्किएका थिए । उनीसँगै काम गर्ने नेपालीहरू आफ्नो काम सकेर फर्कंदा उनी कोठामा भेटिएनन् । राति अबेरसम्म कोठामा नआएपछि सोधीखोजी गर्दा उनी शौचालयनजिकै मृत अवस्थामा भेटिए ।
कोरियन भाषामा दख्खल राख्ने थापा आफ्नो काममा निकै दक्ष थिए । त्यसैले उनले कम्पनीमा नेपाली कामदारको टिम लिडरको जिम्मेवारी पाएका थिए । पहिलो कार्यावधि सकेर उनी क्षमताकै कारण दोस्रोपटक कोरिया आएका थिए । ‘अर्काको देशमा काम खोज्दै आएपछि मिलेर काम गर्नुपर्छ’ भनेर उनी अरूलाई सम्झाइरहेका हुन्थे ।
घटनाको अवस्था हेर्दा उनले आत्महत्या गरेको भन्नै गाह्रो थियो । तरकारी काट्ने चक्कुले घाँटीमा प्रहार गरेको चोट थियो । ‘घटना शंकास्पद देखिएकाले कम्पनीका सबै नेपालीलाई प्रहरीले लिएर गएका रहेछन् । धन्न, सीसीटीभी फुटेज हेर्दा आत्महत्या भन्ने पुष्टि भयो,’ पोछन क्षेत्रमा भाषा अनुवादक काम गर्दै आएका मुक्त गुरुङले भने, ‘कम्पनीमा सबै स्थिति राम्रै देखियो, तलब र सुविधा पनि नियमित रहेछ । उनले किन आत्महत्या गरे, बुझ्नै सकिएन ।’
सुर्खेतको पञ्चपुरीका २३ वर्षीय थीरबहादुर दर्लामी पनि थापा जसरी नै अनेकौं सपना बोकेर दक्षिण कोरिया आएका थिए । तर उनले आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परेर ज्यान गुमाए । थेजन सहरमा रहेको पानीजहाजको डाई बन्ने कम्पनीमा उनले जम्मा ११ दिनमात्रै काम गरे । गत अक्टोबर ११ का दिन दुर्घटनामा परेका उनको उपचारको दोस्रो दिन मृत्यु भयो । ‘कम्पनीमा सहकर्मीको असावधानीका कारण दुर्घटना भएको देखिन्छ । भुइँमा बसेर काम गरिरहेका दर्लामी फोरक्लिप (सामान उचाल्ने गाडी) ले तयार भएको डाई निकाल्दा अर्को डाइमा ठोक्किएर च्यापिएका थिए,’ सुर्खेत समाजका अध्यक्ष लोकेश खत्रीले भने, ‘कम्पनी र फोरक्लिप चलाउनेको गल्ती हुँदाहुँदै पनि यसमा कुनै कारबाही भएन ।’ नेपाली राजदूतावासले पनि घटनालाई गम्भीरतापूर्वक नलिएको उनको गुनासो छ । भाषा र सीप परीक्षा उत्तीर्ण गरेपछि सजिलो काम र राम्रो दाम पाइने भन्दै वैदेशिक रोजगारीमा कोरिया आकर्षक मानिन्छ तर यहाँ कामदारका अनेक दुःख छन् । दैनिक कार्य अवधि १२ घण्टाभन्दा बढी नै हुन्छ । भाषा समस्या उस्तै छ । सन् २००७ मा सुरु भएको ईपीएस खुलेसँगै कोरिया आएर काम गर्ने नेपालीको संख्या बढेको हो । यस अवधिमा ६२ हजार २ सय २७ जना नेपाली कोरिया आएका छन् । हाल यहाँ कार्यरत नेपालीको संख्या ३५ हजार ५ सय ८१ छ । यिनमा महिलाको संख्या २ हजार १ सय ७६ छ ।
संख्या बढेसँगै विभिन्न कारणले ज्यान गुमाउने नेपाली पनि बढेका छन् । ईपीएस सुरु भएपछि अहिलेसम्म १ सय ८१ जना नेपालीले ज्यान गुमाएको रेकर्ड नेपाली दूतावासमा छ । भिन्न रोग र सुतेकै अवस्थामा ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ । औद्योगिक र सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ भने आत्महत्या गर्ने ४८ जना पुगेका छन् । दुई जनाको हत्या भएको दूतावासको तथ्यांकमा छ ।
‘हामीसँग भएको तथ्यांकअनुसार औद्योगिक दुर्घटनाभन्दा बढी आत्महत्याका कारण नेपाली कामदारले ज्यान गुमाइरहेका छन्,’ दक्षिण कोरियास्थित नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोला भन्छन् ।
दक्षिण कोरियाले १६ वटा देशबाट ईपीएस पद्धतिमा कामदार ल्याउने गरेको छ तर आत्महत्या गर्नेमा सर्वाधिक संख्या नेपालीको छ । ‘अरू देशका कामदारभन्दा नेपालीले अलिक बढी आशा राख्ने भएर यस्तो नतिजा आएको हुन सक्छ,’ श्रम सहचारी बाँस्तोला भन्छन् । विशेषगरी परिश्रम गर्ने अभ्यासभन्दा पनि केही पढेको र भाषा सिकेका भरमा नेपाली कामदार कोरिया आउने भएकाले समस्या देखिएको उनले बताए । ‘विदेशमा कमाइ गर्न निस्किएपछि घरपरिवारबाट सधैं पैसा पैसा मात्रै भन्ने गरेबाट पनि डिप्रेसनको स्थिति बढेको हुन सक्छ,’ उनले भने । नेपाली कामदारमाझ आइपर्ने अनेक खालका समस्या सुल्झाउन दूतावासमा एकजना मात्रै श्रम सहचारी छन् । कोरियामा ईपीएस पद्धतिबाट आउने बंगलादेशी कामदारको संख्या १३ हजार छ । तिनको मामिला हेर्न बंगलादेश सरकारले छुट्टै ईपीएस शाखा राखेर कर्मचारी खटाएको छ ।
दक्षिण कोरिया आएका नेपाली कामदार धेरैजसो कृषि र उत्पादनमूलक क्षेत्रमा काम गर्छन् । कोरियाली श्रम मन्त्रालयको रिपोर्टअनुसार सन् २०१३ देखि २०१८ सम्मको औद्योगिक दुर्घटना अघिल्लो पाँच वर्षको तुलनामा ६० प्रतिशतले बढेको देखिन्छ । गत वर्ष मात्रै १ सय ३६ विदेशी श्रमिकको औद्योगिक दुर्घटनामा मृत्यु भएको थियो भने १० जना नेपालीले ज्यान गुमाएका थिए । विगत ५ वर्षमा औद्योगिक दुर्घटनामा परी मृत्यु हुने विदेशीको संख्या ६ सय ५ छ ।
८६.४५ प्रतिशत दुर्घटना उत्पादन र निर्माण क्षेत्रसँग सम्बन्धित छ । कृषि, साना कम्पनी र बिमा दर्ता नभएकाको संख्यासमेत जोड्ने हो भने दुर्घटना तथ्यांक अझै धेरै हुन सक्ने प्रवासी मजदुर युनियन एमटीयूका महासचिव मधुसूदन ओझाको भनाइ छ ।

गोकुल थोकर तामाङ

Page 9
स्वास्थ्य

हृदयाघात होला, चिसोबाट बचौं

४० वर्षभन्दा बढी उमेरका र मुटुसम्बन्धी समस्या भएका मानिसमा खासगरी जाडोयाममा रक्तचाप, कोलेस्ट्रोल वृद्धि र रगत जम्ने समस्याका कारण हृदयाघात र स्ट्रोकको जोखिम बढी हुने गर्दछ
- अतुल मिश्र

(काठमाडौं)  - सो बढेसँगै हृदयाघात र मुटुको समस्याले समेत धेरै मानिसलाई पिरोलेको छ । जाडोयाम सुरु भएसँगै बर्सेनि हृदयाघातलगायत मुटुसम्बन्धी समस्या देखिनु नौलो भने होइन । यद्यपि, यस्तो समस्याबारे कुनै अध्ययन भने गरिएको छैन । त्यसकारण पनि बोलीचालीको भाषामा जाडोयामलाई ‘हर्ट अट्याक’ को मौसमसमेत भन्ने गरिन्छ । मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलका अनुसार पाँच दशक नाघेका व्यक्ति, मुटुरोगी तथा मुटुरोगीका परिवारले जाडोयाममा मुटुको समस्यासँग सम्बन्धित लक्षणप्रति अलि बढी सतर्क रहनु आवश्यक छ ।
जाडो याममा मुटुरोगीहरूले सेवन गरिरहेको औषधिको मात्रा बढाउनुपर्ने स्थिति आउने गरेको औंल्याउँदै ओममूर्तिले मुटुको समस्या भएकाले चिसोमा नियमित परीक्षण गराउनुपर्ने बताए ।
हाल ३० देखि ४० प्रतिशतसम्म हृदयाघातलगायत मुटुको समस्या लिएर आउने बिरामीको चाप बढेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठ बताउँछन् । उनका अनुसार कुनै विशेष अध्ययन नभए पनि मुलुकमा जाडोयाममा हृदयाघात र मुटुको समस्यामा उल्लेख्य वृद्घि देखिने गरेको छ ।
दैनिक कम्तीमा एक जना हृदयाघातका बिरामी इमर्जेन्सीमा आउने गरेका ग्रान्डी इन्टरनेसनल हस्पिटल, इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा.अजयसिंह थापा बताउँछन् । ‘हाम्रो अनुभवमा चिसोमा हृदयाघातका बिरामी ३५ देखि ४० प्रतिशतसम्मले बढी आउँछन्,’ उनले भने । थापाका अनुसार त्यसरी आउने बिरामीमध्ये अधिकांश ४० देखि ५५ वर्ष उमेर समूहका हुन्छन् ।
चिसो बढेसँगै रक्तचापको समस्या भएकामध्ये करिब एक चौथाइलाई अनियन्त्रित रक्तचापको समस्या देखिने गरेको औंल्याउँदै नर्भिक इन्टरनेसनल हस्पिटलका कार्डियोलोजी विभागका निर्देशक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा.यादव भट्ट भन्छन्, ‘चिसोले गर्दा हाल हर्ट फेल्योर, एन्जाइना (छाती दुख्नु), रक्तचापमा वृद्घि, हृदयाघातलगायत मुटुका समस्या उल्लेख्य रूपमा देखिएका छन् ।’
शरीरको आवश्यकताअनुसार अक्सिजन र पोषकतत्त्वको आवश्यकता पूरा गर्न पर्याप्त रगत पम्प गर्न नसक्ने अवस्थालाई ‘हर्ट फेलर’ भनिन्छ । यसका कारण मुटु कमजोर हुनुको साथै मुटुको मांसपेसी कडा हुन्छ ।
नेपाल मेडिसिटी हस्पिटलका इमर्जेन्सी फिजिसियन डा.सञ्जय कार्कीले समेत हाल हृदयाघात र मुटुसम्बन्धी समस्याका बिरामीहरू गर्मीयामको दाँजोमा उपचारका लागि बढी अस्पतालमा पुगिरहेको बताए ।
जाडोमा कोरोनरी मुटुरोगका पीडित धेरैजसो एन्जाइना पीडित हुने डा.ओममूर्ति औंल्याउँछन् । गर्मीयाममा एकदमै सामान्य रहने व्यक्तिलाई समेत जाडो याममा एन्जाइनाको समस्या देखिने गरिएको छ ।
चिसोले जोखिम
जाडोयाममा रक्तचाप, कोलेस्ट्रोलमा वृद्घि र रगत जम्न सक्ने सम्भावनामा वृद्घि नै हृदयाघात र स्ट्रोकका कारक रहेका डा.ओममूर्ति बताउँछन् । उनका अनुसार यदि तपाईं ५५ वर्षभन्दा बढी हुनुहुन्छ र मुटुसम्बन्धी समस्या छ भने जाडोयाममा विशेष सावधानी आवश्यक हुन्छ । पाको उमेरका व्यक्तिलाई आफ्नो शरीरको तापक्रम नियन्त्रणमा राख्न कठिन हुन्छ । उमेर बढ्दै जाँदा मनुष्यको मांसपेसीको द्रव्यमान/मात्रा विस्तारै कम हुँदै जाँदा बढी चिसो अनुभव हुन्छ । पाको व्यक्तिले चिसोमा बढी समयसम्म बस्नु हुँदैन । यो मौसममा कोठाको तापक्रम कम्तीमा १८ डिग्री सेल्सियस हुनुपर्छ । कोठामा हावाको ओहोर–दोहोर सुनिश्चित हुने गरी तातो राख्नुपर्छ ।
यदि कोठामा घाम आउँछ भने यो सबैभन्दा स्वस्थकर स्थिति हो । घामले गर्दा कोठा प्राकृतिक रूपमा नै न्यानो हुन्छ । चिसो बढेको समय ओछ्याउनामा सुत्दा हट वाटर ब्यागको उपयोग गर्नुसमेत फाइदाजनक हुन सक्छ ।
एउटा बाक्लो न्यानो लुगा लगाउनुको सट्टा थुप्रै पातले तह भएको लुगाफाटो लगाउनु राम्रो हुन्छ । घाँटीमा गलबन्दी तथा टाउकोमा टोपीसमेत उपयोगी हुन्छ ।
क्यानाडामा ६५ वर्षमाथिका १ लाख १३ हजार हर्ट फेल भएका बिरामीमा गरिएको एक अध्ययनअनुसार प्रत्येक १ डिग्री सेन्टिग्रड औसत तापक्रममा कमी आउँदा हर्ट फेल हुने जोखिम ०.७ प्रतिशतले वृद्घि हुन्छ ।
‘जामा कार्डियोलोजी’ मा प्रकाशित एवं स्विडेनमा बस्ने २ लाख ७४ हजार व्यक्तिको सूचनालाई विश्लेषण गरेर गरिएको एउटा अध्ययनअनुसार तापक्रम शून्य डिग्रीभन्दा कम हुँदा हृदयाघातको जोखिम सबैभन्दा बढी हुन्छ ।
यदि तपाईंलाई हृदयाघातको आशंका छ भने ३२५ मिलिग्रामको एउटा एस्प्रिनको चक्की वा ४ वटा ७५ मिलिग्रामको एस्प्रिरनको चक्की सेवन गरेर सिधै अस्पताल जानुपर्ने डा. ओममूर्ति बताउँछन् । यसले रगतलाई जम्नबाट रोक्छ । मुलुकमा पाइने धेरैजसो एस्प्रिनको चक्की ७५ मिलिग्रामको हुन्छ ।
जाडोले मुटुलाई के गर्छ ?
जाडोयाममा चिसोले गर्दा शरीरमा भएको रगतको नली साँघुरो हुनुको साथै खुम्चिन्छ । यो नली साँघुरो हुनुको असर मुटुमा रगत पुर्‍याउने धमनीमा पर्ने भएकाले विशेष गरेर मुटु रोगीमा हृदयाघातको खतरा बढ्छ । जाडोयाममा शरीरमा तापक्रम तथा भिटामिन ‘डी’ को कमीसँगै रगत बाक्लो हुने समस्याले मुटु रोगको जोखिम बढेको हो । जाडोले गर्दा शरीरको तापक्रम कम हुँदा रक्तचापमा वृद्घि हुन्छ ।
जाडोमा किन बढ्छ रक्तचाप ?
जाडोयाममा रक्तबाहिनी नली साँघुरो हुन्छ । रगतको नली साँघुरिँदा रगतको सञ्चार गर्न मुटुलाई बढी बल लगाउनुपर्छ । यसैले गर्दा रक्तचाप
बढ्छ । रगत नली साँघुरो हुने कारण भने शरीरलाई न्यानो राख्न हाम्रो शरीरले नै गरेको प्रयास हो । यो रगत नली साँघुरो भएर शरीरको तापलाई संरक्षित राख्छ ।
जाडोयाममा शरीरको तापक्रम र गर्मीको स्तर कायम राख्न रगतको नली खुम्चिने तथा साँघुरो हुने भएकाले रगत प्रवाहमा अवरोध पुग्छ । त्यसैगरी, जाडोयाममा हाम्रो शारीरिक सक्रियतामा समेत कमी आउने रक्तचापको समस्या बढ्छ । यति मात्र नभएर जाडोमा कैटेकोलामिन हर्मोनको स्तर वृद्घि हुन्छ । यो हर्मोनले मुटुको ढुकढुकीलाई बढाएर रक्तचाप बढ्ने अनुसन्धानहरूले देखाएको डा.ओममूर्ति बताउँछन् ।
व्यायाममा ध्यान पुर्‍याऔं
जाडोयाममा दिनहुँ व्यायाम नगर्ने व्यक्तिले एक्कासि कडा व्यायाम सुरु गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । विशेषज्ञहरूका अनुसार सामान्य स्वस्थ व्यक्तिले जाडोयाममा व्यायाम सुरु गर्दा विस्तारै आफूलाई अनूकल हुने तहबाट सुरु गर्नुपर्छ । यस्तै, चार दशक नाघेका र नियमित व्यायाम नगर्नेले भने चिकित्सकसँग सल्लाह गरी व्यायाम सुरु गर्नु फाइदाजनक हुन्छ ।
‘निरन्तर व्यायाम नगर्ने व्यक्ति जब एक्कासि बढी परिश्रम गर्छन् त्यति खेर उनीहरूको धमनीमा जम्मा भएको कोलेस्ट्रोल टुक्रिन थाल्छ,’ डा.ओममूर्ति भन्छन् । उनका अनुसार यसले गर्दा टुटेको कोलेस्ट्रोलको टुक्रा रगतको नलीमा अवरोध (ब्लकेज) को कारण बन्न सक्छ । यही अवरोधले हृदयाघातलगायत विभिन्न शारीरिक समस्या उत्पन्न गर्न सक्छ ।
त्यसैगरी, मुटु रोगीहरूले वा ५० नाघेकाहरूले जाडोयाममा बिहानै उठेर वा साँझपख व्यायाम वा मर्डिङवाक गर्नु पनि जोखिमपूर्ण मानिन्छ । ‘जाडोयाममा मर्डिङ वा इभिनिङ वाकको साटो घाम लागेपछि हिँड्नु फाइदाजनक हुन्छ,’ डा. ओममूर्ति भन्छन्, ‘घरबाहिर निस्किँदा न्यानो लुगा लगाउनुको साथै घाँटी र कान छोप्नु राम्रो हुन्छ ।’
कम उमेरमै हृदयाघात
पहिले हृदयाघात पाको उमेर समूहका मानिसलाई मात्र हुने मान्यता रहेको भए पनि हाल कम उमेरका समेत यसबाट पीडित छन् । मोटोपनको समस्या, उच्च रक्तचाप, मधुमेह, शारीरिक निष्क्रियता, मानसिक तनाव, प्रदूषण आदिले गर्दा कम उमेरका व्यक्तिसमेत हृदयाघातको जोखिममा परेका छन् । पश्चिमा मुलुकको दाँजोमा नेपाल तथा भारतमा हृदयाघात हुने उमेर करिब १० वर्षअघि रहेको डा.ओममूर्ति बताउँछन् ।
बिहानीपख बढी हुन्छ हृदयाघात
जाडोयाममा धेरैजसो हृदयाघात बिहानको समयमा हुने गरेको देखिएको छ । बिहान हुने हृदयाघात बढी खतरनाकसमेत मानिन्छ । चिसो मौसममा बिहान ४ बजेदेखि १० बजेसम्म सबैभन्दा बढी हृदयाघात हुने गरेको हो । नेसनल सेन्टर फर कार्डियोभास्कुलर रिसर्च (स्पेन) मा ८ सय बिरामीमा गरिएको एक अध्ययनअनुसार बिहानको समयमा हृदयाघातका बिरामीमा मृतकोष अन्यको तुलनामा २० प्रतिशत बढी पाइन्छ ।
बिहान मुटुलाई अन्य समयको दाँजोमा बढी काम गर्नुपर्छ । बिहान मुटुको कोरोनरी धमनी बढी संकुचित हुन्छन् र जमेको रगत हटाउने शक्ति बढी खपत हुने भएकाले हृदयघातको समस्या बढी हुने गरेको हो ।
देखिँदैन लक्षण
धेरैजसो हृदयाघातको स्पष्ट लक्षण प्रस्ट देखिने किसिमका हुँदैनन् । सर्कुलेसन जर्नलमा प्रकाशित सन् २०१६ मा गरिएको एक अध्ययनअनुसार करिब ४५ प्रतिशत हृदयाघात लक्षणबिनाको शान्त (साइलेन्ट) हुन्छन् ।
यसलाई साइलेन्ट हर्ट अट्याकका रूपमा जानिन्छ । दुखाइ सहन सक्ने क्षमता बढी भएका मानिसमा यस्तो हृदयाघातको जोखिम बढी हुने देखिएको छ । यसैले मुटुसँग सम्बन्धित सामान्य संकेतलाई समेत ध्यान दिनु आवश्यक हुन्छ ।
मौसमी रुघाखोकीबाट बच्नुस्
रुघाखोकीले समेत हृदयाघातको जोखिम बढाउँछ । रुघाखोकी चिसोबाट नभई भाइरसका कारण हुने संक्रमण हो । जाडोयाममा मौसमी रुघाखोकीसमेत बढी मात्रामा देखिन्छ । मौसमी रुघाखोकीले समेत रगतलाई फोक्सोमा पठाउनका लागि मुटुलाई बढी काम गर्न बाध्य पार्छ । सुन्नाइले गर्दा जमेको कोलेस्ट्रोल (प्लेक) फुट्न सक्छ, यसले रगतको नलीमा अवरोध पुर्‍याउनुको साथै हृदयाघात हुन सक्छ । त्यसैले मुटु रोगीले रुघाखोकीको समस्या देखिए तत्काल चिकित्सकीय परामर्श लिनुपर्छ । रुघाखोकीको औषधिमा ‘डिकन्जस्टेन्ट’ र ‘सोडियम’ बढी हुन्छ । ‘डिकन्जस्टेन्ट’ रक्तचापको औषधिलाई काम गर्न बाधा पुर्‍याउन सक्छ ।
जाडोयाममा मौसमी रुघाखोकीबाट बच्न मुटु रोगीले घरबाहिर गएपछि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्छ । त्यसैगरी, फोहोर हातले नाक, मुख नछुने/नकोट्याउने र रुघाखोकी लागेको व्यक्तिसँग कम्तीमा एक मिटरको दूरी कायम राख्नुपर्छ ।

स्वास्थ्य

बेलायती स्वास्थ्य क्षेत्रमा जम्दै नेपाली

- नवीन पोखरेल

(लन्डन) - बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्ने नेपाली जनशक्ति बढिरहेको छ । आकर्षक तलब, जागिर सुरक्षा र प्रतिष्ठित भएकाले यसतर्फ नेपालीको आकर्षण बढेको हो ।
एनएचएसले गत सेप्टेम्बर २०१९ मा प्रकाशित गरेको तथ्यांकअनुसार मार्चसम्म इंग्ल्यान्डमा एनएचएस जागिरे नेपालीको संख्या १ हजार ७ सय ६० छ । यसमा ब्रिटिस पासपोर्ट लिई काम गर्नेको संख्या भने उल्लेख गरिएको छैन । एनएचएसमा काम गर्ने नेपालीमूलका बेलायतीको संख्या झन् बढी छ ।
एनएचएसमा करिब डेढ दशकको अनुभव सँगालेका लन्डनस्थित क्विन एलिजावेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. बच्चुकैलाश कैनी सन् २००९ देखि तह ८ का कर्मचारी हुन् ।
‘मेरो अनुभवमा नेपालीको संख्या हरेक वर्ष बढ्दै छ । एनएचएसमा प्राविधिकतर्फ नर्स, चिकित्सकको संख्या नै हजारौं छ,’ कैनी भन्छन् ।
नेप्लिज डक्टर्स एसोसिएसन यूकेका महासचिव एवं कन्सल्टेन्ट डा. कमल अर्यालका भनाइमा जनरल मेडिकल काउन्सिल (जीएमसी) मा दर्ता भएका नेपाली चिकित्सकहरूको संख्या सन् २०१६ सम्म ३ सय ३० थियो । त्यसमध्ये ट्रेनिङ ग्रेड ८६, जीपीमा ३१, स्पेसलिस्ट २९ र स्टाफ, ट्रस्ट ग्रेड ८४ जना थिए । अहिले जुनियर ग्रेडमा केही संख्या बढे पनि तथ्यांक उस्तै रहेको डा. अर्याल बताउँछन् ।
नेप्लिज नर्सिङ एसोसिएसन यूकेका अध्यक्ष विनोदविकास सिम्खडा बेलायतमा एनएचएसमा काम गर्ने नर्सहरूको संख्या करिब १३ सय रहेको बताउँछन् । एसोसिएसनमा दर्ता भएकाको संख्या त १ सय ८० मात्र छ ।
एनएचएसमा १ देखि ९ तहसम्म हुन्छ । प्रशासन र नर्सिङमा सबैभन्दा बढी ८ तहसम्म नेपाली पुगेका छन् । तह ८ ‘ए’ भनेको नर्सिङमा मेट्रोनको पद हो । निर्देशकको पदलाई भीएसएम अर्थात् भेरी सिनियर म्यानेजर भनिन्छ । नर्सिङमा तहअनुसार वार्षिक १८ हजारदेखि एक लाख पाउन्डसम्म तलब हुन्छ । उता फाउन्डेसन ट्रेनिङमा रहेका चिकित्सकको वार्षिक कमाइ करिब २८ हजार पाउन्डदेखि कन्सल्टेन्टको १ लाख ७ हजार पाउन्डसम्म छ । स्पेसियल्टी डक्टरको वार्षिक तलब ४० देखि ७५ हजार पाउन्ड छ ।
इंग्ल्यान्डमा एनएचएसमा १२ लाख ६० हजार ७ सय ५३ जनशक्ति काम गर्छन् । त्यसमध्ये २ लाख ९२ हजार ९ सय ३४ नर्स र हेल्थ भिजिटर, प्रशासनिक र सपोर्ट कर्मचारी १ लाख ७९ हजार ६ सय ५३, चिकित्सक १ लाख १६ हजार ४ सय १६ तथा मिड वाइफ २१ हजार ६ सय ३६ कार्यरत छन् । अहिले १८ हजार ५ सय ८३ विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ । एनएचएस विकसित र कमनवेल्थ मुलुकमध्ये विश्वकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक र पाँचौं ठूलो रोजगारदाता हो । सन् १९४८ मा लेबर पार्टीले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) स्थापना गरेको थियो । बेलायतमा स्वास्थ्य सेवा सबैका लागि निःशुल्क छ । बेलायतको स्वास्थ्य सेवा, नयाँ उपचार प्रणाली र बिरामी निको हुने नतिजा संसारमै सबैभन्दा उत्कृष्ट रहेको डा. अर्यालको भनाइ छ ।
ब्रिटेनको जनसंख्या करिब ६ करोड ५० लाख छ । बेलायतको कुल बजेटको करिब १८ प्रतिशत नेसनल हेल्थ सर्भिसका लागि खर्च हुन्छ । यसमा ८० प्रतिशत साधारण कर, बिमा योगदान एवं अन्य शुल्कबाट उठाइन्छ ।
बेलायतको राजनीतिमा एनएचएस सबैभन्दा बढी चर्चा गरिने मुद्दा हो । यसको बजेट नै वार्षिक झन्डै १३३ विलियन पाउन्ड छ । सन् २०१९–०२० मा डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयरले इंग्ल्यान्डमा १३९. ३ विलियन पाउन्ड खर्च गर्ने योजना बनाएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत अगस्टमा इंग्ल्यान्डस्थित २० अस्पतालका लागि १ अर्ब ८० करोड पाउन्ड तुरुन्त उपलब्ध गराउने घोषणा गरेका थिए । यसअघि निवर्तमान प्रधानमन्त्री टेरेजा मेले सन् २०२३ सम्ममा २० अर्ब पाउन्ड थप बजेट घोषणा गरेकी थिइन् ।

स्वास्थ्य

स्वास्थ्यवर्द्धक सुन्तला

- कान्तिपुर संवाददाता

चिसो बढेसँगै राजधानीलगायतका स्थानमा घाम ताप्दै सुन्तला खानेको संख्यामा समेत वृद्धि भएको छ । सुन्तला स्वास्थ्यवर्द्धक फल हो । उपवास र सबै रोगमा सुन्तला उपयोग गर्न सकिन्छ ।
आयुर्वेदअनुसार सुन्तला वातनाशक, तृषासामक, दाह, ज्वरो एवं हृदय विकारमा उपयोगी मानिन्छ ।
सुन्तलामा प्रचूर मात्रामा भिटामिन ‘सी’ पाइन्छ । भिटामिन ‘सी’ मांसपेसीका लागि भोजनबाट क्याल्सियम अवशोषण गर्न सहयोग गर्छ । यसमा भिटामिन ‘ए’, ‘बी’, फलाम र पोटेसियमसमेत बढी मात्रामा हुन्छ ।
सुन्तलाको सबैभन्दा ठूलो विशेषता यसमा भएको फ्रुक्टोज, डेक्सट्रोज, खनिज र भिटामिन, शरीरमा पुग्ना साथ ऊर्जा दिन थाल्नु हो । सूर्यको किरणद्वारा सुन्तलाको ‘स्टार्च’ सक्खरमा परिवर्तित हुन्छ । यो सक्खर मानव रगतमा अपेक्षाकृत बढी छिटो समाहित हुन्छ । यसैले सुन्तला खाएपछि चुस्तता, फूर्ति अनुभव हुन्छ । सुन्तलाको सेवनले शरीर स्वस्थ रहन्छ, चुस्तता, स्फूर्ति बढ्छ, छालामा निखार आउछ र सौन्दर्यमा वृद्घि हुन्छ ।
सुन्तलामा भएका रेसा (फाइबर) ले पेटको सफाइसमेत गर्छ । सुन्तलाको रसमा भने रेसाहरूको कमी हुन्छ त्यसैले सिंगो सुन्तला खानु नै बढी फाइदाकारी हुन्छ ।
सुन्तलालाई नियमित आहारमा सामेल गर्नाले रुघा–खोकी, रक्तस्रावको समस्या रहँदैन । शरीर सशक्त र दीर्घायु बन्छ । पाचन प्रणाली ठीक रहन्छ ।
सुन्तलामा भएको साइट्रिक एसिड मूत्र र मृगौला रोगलाई हटाउँछ ।
आयुर्वेद विज्ञानका अनुसार सुन्तलाको बोक्रासमेत गुणकारी मानिन्छ । बोक्रालाई पिसेर अनुहारमा लगाउँदा यसले दाग तथा कालोपोतो हट्नुका साथै अनुहारमा चमक आउँछ । बालबालिका, बूढापाका तथा रोगीलाई दुर्बलता हटाउन सुन्तला उपयोग गर्ने सल्लाह दिइन्छ । आयुर्वेदका अनुसार सुन्तलाको नियमित सेवनले पाइल्स रोगमा समेत लाभ पुर्‍याउँछ । यसमा रक्तस्राव रोक्ने क्षमतासमेत रहेको हुन्छ ।

स्वास्थ्य

‘स्मार्टफोन यौनजीवनको दुश्मन’

- कान्तिपुर संवाददाता

स्मार्ट फोनको अधिकतम उपयोगले मानिसको मनस्थिति प्रभावित पार्नका साथै यौनजीवनमा समेत असर पुर्‍याउन थालेको छ ।
मोरक्कोको कासाब्लांकामा शेख खलिफा बिन जायद अन्तर्राष्ट्रिय विश्वविद्यालय अस्पतालको यौन स्वास्थ्य विभागमा गरिएको अध्ययनले उक्त दाबी गरेको हो । अध्ययनमा सामेल ६ सय जनामध्ये करिब ६० प्रतिशत व्यक्तिले स्मार्टफोनका कारण आफ्नो यौनजीवनमा समस्या आएको स्वीकार गरेका हुन् ।
अध्ययनमा सामेल सबैसँग स्मार्टफोन थियो । यसमध्ये ९२ प्रतिशत व्यक्तिले स्मार्टफोनलाई राति उपयोग गर्ने कुरा स्वीकार गरेका थिए । तर करिब १८ प्रतिशतले आफ्नो फोनलाई सुत्ने कोठामा ‘फ्लाइट मोड’ मा राख्ने कुरा जनाए ।
अध्ययनअनुसार स्मार्ट फोनले २० वर्षदेखि ४५ वर्षसम्मका वयस्कमा नकारात्मक प्रभाव पार्ने देखिएको छ । जसमा ६० प्रतिशतले फोनले आफ्नो यौन क्षमतालाई प्रभावित गरेको बताए ।
अध्ययनमा सरिकमध्ये करिब ५० प्रतिशतले लामो समयसम्म स्मार्टफोन उपयोग गर्ने बानीका कारण यौनजीवन राम्रो नरहेको उल्लेख गरे । यस्तै, अमेरिकी कम्पनी स्योरकालको एक सर्वेक्षणअनुसार करिब तीन चौथाइ व्यक्तिले राति आफ्नो ओछ्याउनामा फोन राखेर सुत्छन् ।

 

Page 10
समाचार

एमसीसी इन्डो–प्यासिफिककै अंग : अमेरिकी दूतावास

- घनश्याम खड्का

(काठमाडौं) - काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसी परियोजना नेपालकै हित र अनुरोधमा अघि बढेको र यो इन्डो–प्यासिफिक स्ट्राटेजीकै एक अंग भएको जनाएको छ । अमेरिकी सबै कार्यक्रमहरू यही स्ट्राटेजीअन्तर्गत सञ्चालन भइरहेको दूतावासले प्रस्ट पारेको छ ।
‘इन्डो–प्यासिफिक स्ट्राटेजी अमेरिकी नीति हो र यो यस क्षेत्रमा गर्ने हरेक कामका लागि दिइएको नाम हो,’ दूतावासका अधिकारी कार्ल रोजर्सले कान्तिपुरसँग भने, ‘यो कुनै संगठन वा गठबन्धन होइन, न नेपाल वा अन्य कुनै देशलाई यसमा सहभागी हुन नै भनिएको छ ।’ इन्डो–प्यासिफिक सहभागी देशकै हितका लागि तय गरिएको नीति भएको उनले बताए । ‘यस नीतिअनुसार नेपाल बलियो हुँदा अमेरिका बलियो हुन्छ, नेपाली स्वस्थ हुँदा अमेरिकी स्वस्थ हुन्छन्,’ उनी भन्छन्, ‘नेपालको सार्वभौमिकता सबल भयो भने अमेरिकाको सार्वभौमिकता पनि सबल हुन्छ किनभने इन्डो–प्यासिफिक रणनीति भनेकै स्वहित हो ।’ सार्वभौमिकता, स्वतन्त्रता, खुलापन र सुरक्षाको सिद्धान्त उल्लंघन गर्ने जुनसुकै देशविरुद्ध संरक्षण संयन्त्र निर्माण गर्ने उद्देश्य इन्डो–प्यासिफिक रणनीतिको रहेको पनि उनले बताए । एमसीसी नेपालकै अनुरोधमा सुरु भएको र संसद्बाट सम्झौता अनुमोदन गर्ने सर्त नेपालका लागि मात्रै नभएको दूतावासले जनाएको छ । ‘अन्तर्राष्ट्रिय विकासको नयाँ ढाँचाका रूपमा एमसीसी सन् २००२ मा सुरुवात गरिएको हो र यो सबै महादेश गरी ५० राष्ट्रमा लागू भइरहेको छ,’ रोजर्सले भने, ‘यी सबै देशमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुनैपर्छ, यो नेपालका लागि मात्रै राखिएको विशेष सर्त होइन ।’
चार सय केभी क्षमताको तीन सय किमि लामो प्रसारण लाइन बनाएर जलविद्युत्लाई सुलभ र सहज बनाउने अनि हालसम्मकै नयाँ प्रविधि प्रयोग गरेर ३ सय ५ किमि सडकको आवधिक मर्मत गर्ने भनेर नेपालले एमसीसीसँग सम्झौता गरेको हो । यसका लागि अमेरिकाले ५६ अर्ब रुपैयाँ अनुदान सहायता प्रदान गर्दै छ, जुन पाँच वर्षमा खर्च गरिसक्नुपर्ने सर्तमा उल्लेख छ । विश्वलाई नेपालमा लगानीको वातावरण छ भन्ने महत्त्वपूर्ण सन्देश एमसीसी परियोजनाको सफल कार्यान्वयन भएको दूतावासको बुझाइ छ ।
ठूलो रकम अनुदानमा आउने र त्यो पूर्वाधारमा खर्च गर्न पाइने हुनाले सन् २०१२ मा एमसीसीसँग जोडिने प्रक्रिया नेपालले सुरु गरेको थियो । नेपालकै अनुरोधमा सहयोग दिन लागेको दूतावासले जनाएको छ । सन् २०१५ मा यस परियोजनाका लागि नेपालमा कार्यालय
पनि स्थापना भइसकेको छ । सन् २०२० को
ग्रीष्म ऋतुमा पाँचवर्षे यो परियोजना सुरु पनि हुँदै छ ।
इन्डो–प्यासिफिक स्ट्राटेजी नामको नयाँ नीति भने ट्रम्प प्रशासनले पोहोर मात्रै सार्वजनिक गरेको हो । एमसीसी सम्झौता अनुमोदनका लागि गत वर्ष असारमै संसद्मा दर्ता गरिएको थियो । तर त्यतिबेलै इन्डो–प्यासिफिक स्ट्राटेजी सार्वजनिक भएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद्मा पेस नगरी वर्षे अधिवेशन टुंग्याएका थिए ।

 

समाचार

प्रधानमन्त्रीको फेरि डायलसिस

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार फेरि डायलसिस गरिएको छ । उनको त्रिवि शिक्षण अस्पतालस्थित कलेजो प्रत्यारोपणको आईसीयूमा डायलसिस गरिएको हो । दोस्रोपल्ट मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका प्रधानमन्त्री नियमित डायलसिसमा छन् ।
उनको गत मंसिर १० गते मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डेक्टोमी (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया) गरिएको थियो । त्यसबेला १० दिन अस्पताल बसाइका क्रममा पाँच पटक डायलसिस गरिएको थियो । त्यसको केहीअघि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनको अवधिमा ४ पटक डायलसिस गरिएको थियो । ६७ वर्षीय प्रधानमन्त्री ओलीको सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो ।

Page 11
अर्थ वाणिज्य

स्थानीयले रोके अरुण तेस्रोको काम

- कान्तिपुर संवाददाता

संखुवासभा (कास)– संखुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाको करिब ३० प्रतिशत काम भइसक्दा पनि मुआब्जा नपाएको भन्दै स्थानीयले शुक्रबारबाट भौतिक निर्माणका काम ठप्प पारेका छन् । स्थानीयले अरुण तेस्रो आयोजनाको दिदिङमा निर्माणाधीन पावरहाउसको सुरुङमार्गको काम बन्द गरेका हुन् । यसबाट दुई हजार कामदार अलपत्र परेका छन् । स्थानीय बिहीबारबाट अनिश्चितकालीन प्रवेशमार्ग बन्दमा उत्रिएका हुन् ।
छ्यांकुटीबाट पावर हाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद टुंगिएको छैन । यो खण्डमा सरकारले मुआब्जा निर्धारण गरेर सरकारी मूल्यअनुसार स्थानीयलाई रकम दिनुपर्छ । यो सडक खण्डमा स्थानीय धर्नामा समेत बसेका छन् । यस क्षेत्रका दुई सय परिवारले मुआब्जा नपाएको पीडितले गुनासो गरे । छ्यांकुटीबाट पावर हाउससम्मको २४ किलोमिटर सडकखण्डमा मुआब्जा नपाएको स्थानीयको भनाइ छ । पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको स्थानीयले बताए ।
‘आयोजनाको ३० प्रतिशत काम भइसक्दा पनि मुआब्जा नदिनु हास्यास्पद भयो,’ छ्यांकुटी–पुखुवा मुआब्जा संघर्ष समितिका संयोजक हर्कसिंह राईले भने, ‘हामीले ३ वर्ष कुरिसक्यौं । अब कुर्दैनौं ।’ नेपाल सरकार वा भारतीय कम्पनी सतलजमध्ये जसले मुआब्जा दिए पनि चाँडो व्यवस्था गर्न स्थानीयको माग छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा यसअघि बनेको टोलीले मुआब्जा वितरणका लागि लगानी बोर्डसम्म प्रतिवेदन पठाइसकेको छ । स्थानीयले भने अहिलेसम्म मुआब्जा पाएका छैनन् । आयोजनाको विपक्षमा आफूहरू नरहेको उनको भनाइ छ ।
आयोजनाको मुआब्जा विवाद सक्दो छिटो मिलाउने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल बताउँछन् । ‘स्थानीय बासिन्दा, निर्माणको जिम्मा पाएको भारतीय सतलज र स्थानीय प्रशासनसँग सहमति गरेर मुआब्जाको विवाद टुंग्याउँछौं,’ उनले भने, ‘अब विवाद लामो समय रहन्न ।’

अर्थ वाणिज्य

घरजग्गामा महिलाको स्वामित्व १७ गुणाले बढ्यो

महिलाको नाममा कायम हुने घरजग्गा रजिस्ट्रेसन शुल्क छुट सुरू भएको १२ वर्षमा ग्रामीण क्षेत्रमा १४ लाख ५७ हजार ३ सय २० र सहरमा ९ लाख ५० हजार २ सय ३६ महिला जग्गाधनी ।
- विद्या राई

(काठमाडौं) - गत वर्ष ओखलढुंगाका शिक्षक दम्पती सरस्वती पौडेल र ध्रुव खत्रीले भक्तपुरको सिर्जनानगरमा चार आना घडेरी किने । जग्गाधनी पुर्जा भने सरस्वतीका नाममा दर्ता गराए । ‘नामसारीको दस्तुरमा छुट पाइने भएपछि हामी दुवैको सहमतिमा मेरो नाममा जग्गाधनी पुर्जा लियौं,’ पौडेलले भनिन् । खत्री ओखलढुंगामा पढाउँछन्, पौडेल भोजपुरको विद्योदय माविमा । पत्नीका नाममा जग्गाधनी पुर्जा लिँदा दस्तुरमा छुटसँगै भविष्यका लागि सुरक्षा महसुस हुने उनले बताइन् । ‘गुजारा चलाउने पेसा त दुवैको छँदै छ । सम्पत्तिमा आफ्नो स्वामित्व हुँदा आत्मविश्वास झनै बढ्दो रहेछ,’ उनले भनिन् ।
महिला सशक्तीकरणमा टेवा पुर्‍याउन सरकारले महिलाका नाममा जग्गाधनी पुर्जा लिँदा रजिस्ट्रेसन शुल्क छुट दिन थालेपछि पौडेलजस्ता २४ लाख ७ हजार ५ सय ५६ महिला जग्गाको मालिक हुन पाएका छन् । आव ०६४/०६५ देखि ०७५/०७६ सम्मको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक हो यो । यो अवधिमा महिलाका नाममा जग्गाधनी पुर्जा लिनेको संख्या १७ गुणाले बढेको छ । आर्थिक विधेयकअनुसार सातै प्रदेशले महिलाका नाममा जग्गाधनी पुर्जा लिँदा २५ प्रतिशत छुटको व्यवस्था गरेका छन् । एकल महिलालाई ३५ प्रतिशत छुट छ भने हिमाली जिल्लाका सदरमुकामबाहेकका स्थानीय तहमा ५० प्रतिशत छुट छ ।
पतिपत्नी दुवैका नाममा संयुक्त जग्गाधनी पुर्जा लिँदा रजिस्ट्रेसन दस्तुर झन् कम बनाइएको छ । पतिपत्नीको संयुक्त नाममा जग्गाधनी पुर्जा लिँदा जम्मा दस्तुर सय रुपैयाँ मात्रै पर्छ । यसले दुवैको स्वामित्वसँगै किनबेचमा पनि दुवैको सहमतिलाई समेट्ने महिला अधिकारकर्मी सरु जोशी बताउँछिन् । ‘करको लगाम लगाएर महिलाका नाममा जग्गाको स्वामित्व ल्याउने सरकारको यो कदमले महिला सशक्तीकरण र सबलीकरणमा अन्तर्राष्ट्रियस्तरमै सकारात्मक सन्देश दिएको छ,’ उनले भनिन् ।
पोहोरको साउनमा बझाङको मस्टा गाउँपालिका मेलखेतका जमुना ओखेडा र उनकी पत्नी किथ्थु ओखेडाले संयुक्त जग्गाधनी पुर्जा लिए । पहिले पतिका नाममा दर्ता भएको जग्गाधनी पुर्जामा टाँसिएको उनको फोटो र जग्गामा पाएको स्वामित्वले जमुनाको जीवनमा खुसी छरेको छ । ‘जग्गा मेरा नाममा पनि भएपछि लोग्नेले भोलि धोका दिए भने दुःख पाउनुपर्दैन,’ उनले भनिन् । आफ्नो गाउँमा वर्षमा ७/८ जनाले बहुविवाह गर्ने र त्योसँगै जेठी पत्नी र बालबच्चाको बिचल्ली हुने गरेको उनले बताइन् । गाउँमा लोग्नेले कान्छी ल्याएर घरनिकाला भएकी एक महिलाको कथा उनलाई झल्झली याद छ । ‘बिचरीको न विवाह दर्ता थियो, न नागरिकता, घरबाट निकाला भएपछि न्याय खोज्ने कागजात थिएन,’ उनले भनिन्, ‘बिचल्लीमा परेकी छे अहिले ।’ यस अर्थमा जमुना ढुक्क र सुरक्षित महसुस गर्छिन् ।
आर्थिक ऐन, ०६४ मा महिलाका नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतको दस्तुरमा २० प्रतिशत मात्रै छुट थियो । महिलाको सुरक्षा र स्वामित्वको दायरा बढाउन चार वर्षयता भने सरकारले दस्तुर छुटको दर बढाएको हो । देशभरमा ३ करोड ६२ लाख ५० हजार ९ सय ५७ कित्ता जग्गाका १ करोड ५८ लाख २ हजार १ सय १३ धनी छन् । आव ०७४/७५ को एक वर्षमै जग्गाधनी पुर्जा लिने महिलाको संख्या २ लाख ८० हजार १ सय ३६ पुगेको छ । ०६४/६५ मा जम्मा १ लाख ३७ हजार ४ सय ९५ जना महिलाका नाममा जग्गाको स्वामित्व थियो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार ०६४/६५ देखि ०७५/७६ सम्म १२ वर्षको अवधिमा २४ लाख ७ हजार ५ सय ५६ महिलासँग जग्गाको स्वामित्व छ ।

यो संख्यामा रहेका महिलाले जग्गाधनी पुर्जा लिँदा ७ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ दस्तुर शुल्क छुट पाएका छन् । सहरबजारमा भन्दा ग्रामीण भेगमा महिलाका नाममा जग्गा दर्ता गर्नेको संख्या बढी छ ।
बितेका १२ वर्षमा ग्रामीण भेगमा १४ लाख ५७ हजार ३ सय २० महिलाका नाममा जग्गाधनी पुर्जा दर्ता भएको छ भने सहरबजारमा ९ लाख ५० हजार २ सय ३६ छन् ।
संयुक्त राष्ट्रसंघीय महिला नेपाल (यूएन वुमन) को बदलिँदो विश्वका परिवारहरू सन् २०१९/२०२० को प्रतिवेदनअनुसार नेपालमा घरजग्गा आफ्नो स्वामित्वमा भएका महिला सन् २०११ मा १९.७ प्रतिशत थिए । सन् २०१७ मा यो दर बढेर २६ प्रतिशत पुगेको छ । घरजग्गा महिलाको स्वामित्वमा हुँदा महिला हिंसामा पनि कमी आउने गरेको पाइन्छ । ‘जग्गा मेरो नाममा भएकै कारणले पनि छिमेकका महिलाको तुलनामा मैले घरेलु हिंसा सहनुपरेको छैन,’ काठमाडौं बानेश्वरकी
रमिता राईले भनिन्, ‘बरु उहाँ (पति) ले हरेक निर्णय लिँदा मेरो राय पनि लिने गर्नुहुन्छ ।’

अर्थ वाणिज्य

वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी

- कान्तिपुर संवाददाता

बागलुङ (कास)– आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अधिवेशनमा व्यवसायी चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार सुरु भएको छैटौं बागलुङ महोत्सव उद्घाटनका अवसरमा उनले उम्मेदवारी घोषणा गरेका हुन् । महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य संघले वरिष्ठ उपाध्यक्षका लागि प्रस्ताव गरेको र साथीहरूको समर्थनमा उम्मदेवारी दिएको उनले बताए । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । बागलुङ अमलाचौरमा जन्मिएका ढकाल महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद् सभापति हुन् । ‘साथीहरूको चाहना र आग्रहपछि मैले उम्मेदवारी घोषणा गरें,’ ढकालले भने, ‘देशभित्रै लगानी थप्ने, रोजगारी सिर्जना गर्ने र समृद्ध राष्ट्र निर्माणमा योगदान गर्नेछु ।’
सानो व्यवसायबाट व्यावसायिक यात्रा थालेको र आगामी दिनमा साना, मझौला तथा समग्र उद्योगी व्यवसायीका समस्या बुझेर काम गर्ने उनले प्रतिबद्धता जनाए । ‘मेरो जीवन सानोतिनो पसल, उद्यम र सामान्य जागिरबाट सुरु भएर यहाँ आइपुगेको हो,’ उनले भने, ‘त्यसैले साना व्यवसायीको पीरमर्का र अवस्थालाई अरूले भन्दा बढी महसुस गर्न सक्छु ।’ ढकाल आईएमई ग्रुप, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवर्द्धक हुन् । कार्गो व्यवसायबाट व्यावसायिक यात्रा थालेका ढकालको जलविद्युत्, पर्यटन, सूचना प्रविधि, ट्राभल्स, अटोमोबाइल, केबलकारलगायत दुई दर्जनभन्दा बढी व्यवसायमा लगानी छ ।

Page 12
अर्थ वाणिज्य

'बूढीगण्डकीको शिलान्यास कहिले ?'

- ऋषिराम पौड्याल

(काठमाडौं) - बूढीगण्डकी आयोजनाबारे यही समितिमा छलफल धेरै पटक गरियो । राष्ट्रिय गौरवको आयोजना भनेर चर्चा पनि धेरै भयो । शिलान्यासचाहिँ कहिले हुन्छ, मन्त्रीज्यू ? पर्यटनमन्त्री योगेश भट्टराईले मंसिरमा निजगढ विमानस्थल शिलान्यास गर्ने घोषणा गरे जस्तो नहोस्,’ राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा शुक्रबार भएको छलफलमा सांसदहरूले ऊर्जामन्त्री वर्षमान पुनलाई सोधे, ‘आयोजनाको मोडालिटी र लगानीको स्रोत के हो ?’
बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण र निर्माणको पछिल्लो अवस्थामाथि सांसदहरूले प्रश्नैप्रश्न गरे । समितिले आयोजनाका सन्दर्भमा तेस्रो पटक गरेको छलफलमा सांसदहरूले जुन उपाय निकालेर भए पनि आयोजना बन्नुपर्नेमा जोड दिए । सांसदको जिज्ञासामा ऊर्जामन्त्री पुनले आयोजना शिलान्यासको समय तोक्न नसकिने प्रतिक्रिया दिए । ‘नयाँ मन्त्री भएको भए मैले पनि शिलान्यासको मिति भन्थें होला,’ पुनले भने, ‘आयोजानको सबै जानकारी भएकाले अहिल्यै बोलिहाल्ने अवस्था छैन ।×’ चालु आवमा मुआब्जा वितरण सक्ने उनको दाबी छ । मुआब्जासँगै आयोजानको मोडालिटी र स्रोतको खोजिने उनले जानकारी दिए ।
मन्त्रिपरिषद्ले ०७५ असोज ५ मा गेजुवासँग वार्ता गरी ईपीसीएफ मोडलमा निर्माण गर्ने गरी समझदारी–पत्रमा हस्ताक्षर गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । सोही महिनाको १४ र पुस ३, ४ गते गेजुवासँग आयोजना निर्माण सम्बन्धमा पछिल्लो वार्ता भए पनि त्यसपछि के गर्ने भन्नेमा थप कुराकानी भएको छैन । ०७४ जेठ ९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले बूढीगण्डकी निर्माणको जिम्मा गेजुवालाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले गेजुवासँग ०७४ जेठ २१ मा समझदारी–पत्रमा हस्ताक्षर गरेका थिए ।
दाहालपछि सरकारको नेतृत्व गरेका शेरबहादुर देउवाको पालामा बूढीगण्डकी निर्माणको जिम्मा गेजुवालाई दिने गरी भएको समझदारी खारेज भएको थियो । ०७४ असोज ९ मा संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिको संयुक्त बैठकले बिनाप्रतिस्पर्धा बूढीगण्डकी निर्माणको जिम्मा गेजुवालाई दिने निर्णय भंग गर्न सरकारलाई निर्देशन दिएको थियो । संसदीय समितिको सोही निर्णयलाई कारण देखाउँदै देउवा नेतृत्वको सरकारले ०७४ कात्तिक २७ मा गेजुवासँगको समझदारी खारेजीको निर्णय गरेको थियो । लगत्तै ०७४ मंसिर ८ को मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी स्वदेशी लगानी र सीपमा बनाउने घोषणा गरेको थियो । आयोजनाको लागत करिब ३ खर्ब अनुमान गरिएको छ ।
समितिमा भएको छलफलमा कांग्रेस सांसद सुरेन्द्रराज पाण्डेले मुआब्जाका विषयमा स्थानीयको चित्त बुझाउन नसक्दा आयोजान अन्योलमा पर्न नहुने बताए । स्थानीयले जमिनको मूल्यको बढाउन पुनर्मूल्यांकन गर्न माग गरे पनि काुननी रूपमा जटिलता रहेकाले नयाँ उपाय निकाल्नुपर्ने उनको भनाइ छ । धादिङ र गोरखाका भूभागमा बन्ने १ हजार २ सय मेगावाटको उक्त आयोजनाले ओगट्ने निजी जमिनको मुआब्जा विवादले निर्माणमा अवरोध भएको छ । दुवै जिल्लाको बजार क्षेत्रको जमिन अधिग्रहणका लागि गत मंसिर १५ मा स्थानीय प्रशासनले मुआब्जा निर्धारण गरेको छ । धादिङको आरुघाट र खहरेको १ हजार १ सय ६१ रोपनी र गोरखाको आरुघाट र आर्खेतको ६१० रोपनी जमिनको मूल्य प्रतिआना ५० हजारदेखि ७ लाखसम्म निर्धारण गरिएको छ । दुवै जिल्लाका ३०२ जनाले नयाँ मापदण्डअनुसार निर्धारित मुआब्जा पाउन स्थानीय प्रशासनमा निवेदन दिएको आयोजानको साइट कार्यालयले जानकारी दिएको छ । मुआब्जा वितरण र आयोजना निर्माणमा राजनीतिक खिचतानी गर्न नहुने सांसद दीनानाथ शर्माले तर्क गरे । ‘समस्या बल्झाउने मात्र होइन, नेतृत्वले समाधानको उपाय पनि खोज्नुपर्छ,’ उनले भने । जमिनको स्वामित्व सरकारको नभई विकास अघि बढाउन नसक्ने सांसद रामप्रित पावसवानको भनाइ छ । मुलुकभर मुआब्जाको दर एउटै बनाउनुपर्ने सांसद रमेशप्रसाद यादवले बताए ।
सम्झौता कार्यान्वयन गर्न निर्देशन
समितिले बूढीगण्डकी आयोजनाबाट प्रभावितको सहमतिमा गत मंसिर २४ गते ऊर्जामन्त्री पुनसमेतको उपस्थितिमा स्थानीय प्रभावितसँग भएको चारबुँदे सहमति कार्यान्वयन गर्न निर्देशन दिएको छ । प्रभावितले मुआब्जाबापत पाउने रकममा लाभ कर तिर्नु नपर्ने, पुनर्वास नीति सार्वजनिक गर्नुपर्ने, आयोजना बनाउने प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने, प्रभावितको घरगोठको ह्रास कट्टी नगरी रकम पाउनुपर्नेलगायत बुँदामा सहमति भएको समितिकी सभापति दिलकुमारी रावल (पार्वती) ले जानकारी दिइन् । ह्रास कट्टी, लाभकर तिर्नु नपर्ने र पुनर्वाससम्बन्धी सम्झौता अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्बाट पारित गराउन प्रस्ताव तयार गरेको आयोजनाले जनाएको छ ।

अर्थ वाणिज्य

‘कानुनी झन्झटले आयातमा निर्भर’

- कान्तिपुर संवाददाता

बागलुङ (कास)– ‘राजनीतिक नेतृत्वले संसद्देखि आमसभासम्म अर्गानिक खेती, करको सहुलियत र उद्योग विकासको नारा लगाउँछन् । तर जब उद्योगीले कृषिमा आधारित वा पर्यटन प्रवर्द्धनका उद्योग खोल्न थाल्छन्, तब कानुनी झन्झटले हैरान हुन्छन् ।’
नेपालका वरिष्ठ उद्योगीहरूले एउटै मञ्चमा गरेको टिप्पणी हो यो । करोडौं रुपैयाँ लगानीको उद्योग सञ्चालन गर्न १८ महिनादेखि दुई वर्षमा सकिए पनि त्यसका लागि कानुनी प्रक्रिया पूरा गर्न पाँच वर्ष लागेको उनीहरूको टिप्पणी छ । ‘लगानी गर्न गाह्रो छैन तर जग्गा पाउनै मुस्किल छ,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, ‘सरकारले जमिन, जंगल वा पानीका लागि वातावरण बनाइदिँदा दर्जनभन्दा बढी उद्योग खोल्न सकिन्छ ।’
बागलुङ उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक बहसमा गोल्छाले साना उद्योगीलाई सहुलियत कर्जा नदिएसम्म नेपाल सधैं आयातमा भर पर्नुपर्ने दाबी गरे । ‘हिजो हामी निर्यात गर्नेहरू ७० प्रतिशत आयातमा पुगिसकेका छौं, त्यो कृषिजन्य उद्योगमा बढी छ,’ उनले भने, ‘सहज ऋण र न्यूनतम ब्याजदर पाउनासाथ सयौं उद्योगीले नेपालमा लगानी बढाउँछन् ।’
ठूला उद्योगका लागि जग्गा प्राप्ति ऐन बाधक बनेको उनले बताए । ‘कतै जंगल, कतै सार्वजनिक स्थान र निजी सम्पत्तिलाई एकीकृत बनाउन नसक्दा ठूला उद्योग विस्थापित हुने र नयाँ खोल्नै नसक्ने अवस्था छ,’ गोल्छाले भने, ‘सामाजिक सुरक्षामा साना उद्योग जान नसक्नुको प्रमुख कारण पनि यही हो ।’
महासंघका उपाध्यक्ष एवं उद्यमी चन्द्र ढकालले मौलाकालिका र सिक्लेसमा केबलकार निर्माण थालेकामा कानुनी झन्झटले ढिलाइ भएको बताए । ‘२२ विभाग र आधा दर्जन मन्त्रालय धाउने अवस्था अन्त्य भए लगानी र रोजगारी बढाउन सकिन्छ,’ उनले भने, ‘मन्त्रीले स्वीकृति दिन्छन्, कर्मचारीबाट प्रक्रियामा ढिला हुन्छ । सरकारले छोटो कार्यविधि बनाउनुपर्छ ।’ राष्ट्रिय गौरवका आयोजनादेखि रोजगारी सिर्जनाका धेरै उद्योग ढिलाइ हुनुमा कानुनी झन्झट नै कारण भएको उनको टिप्पणी छ ।
हरेक व्यवसायले राज्यलाई कर तिर्ने दायित्व बोध हुँदा सरकार र उद्योग दुवै सबल हुने व्यवसायी मीनबहादुर गुरुङले बताए । भाटभटेनी सुपरमार्केटका अध्यक्षसमेत रहेका उनले केही वर्षमा नेपालभित्रै भाटभटेनी सुपरमार्केटमा मात्र ५० हजार रोजागरी पुर्‍याउने उनको भनाइ छ । उक्त अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्योग व्यवसायका लागि कानुनी समस्याको गाँठो फुकाउने प्रतिबद्धता जनाए । ‘हामी कानुन निर्माणको चरणमा छौं, हरेक स्थानीय तहमा औद्योगिक ग्राम बनाउन खोज्दै छौं,’ उनले भने, ‘व्यवसायीका समस्याको गाँठो फुक्ने गरी नीति बन्नेछन् ।’

अर्थ वाणिज्य

निगमको बोइङ ६५ करोड २२ लाखमा लिलाम

२२ करोड घाटा
- सुरज कुँवर

(काठमाडौं) - नेपाल वायुसेवा निगमको ३१ वर्ष पुरानो बोइङ विमान (गण्डकी) अमेरिकी कम्पनी सीएसडीएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ इंकलाई ६५ करोड २२ लाख रुपैयाँमा बिक्री गरिने भएको छ । निगम सञ्चालक समितिले शुक्रबार आफ्नो अन्तिम बोइङ विमान ७५७ सीएसडीएसलाई बिक्री गर्ने प्रस्ताव पारित गरेको हो ।
‘सञ्चालक समिति बैठकमा कार्यकारी अध्यक्ष मदन खरेलले राखेको लिलाम बढाबढ प्रक्रियाबाट सीएसडीएसलाई अल्फा चार्ली ब्राभो कलसाइनको विमान बिक्री गर्ने प्रस्ताव पारित गरिएको छ,’ बैठकलगत्तै बोर्ड सदस्य अच्चुतराज पहाडीले कान्तिपुरसँग भने । गत जेठमा परामर्शदाता कम्पनी फिनटेक एफएएस एभिएसन सर्भिसेज कम्पनीले यो विमान र बाँकी रहेका ६ सय हाराहारी पार्टपुर्जाको न्यूनतम मूल्यांकन गरेको थियो । त्यसै प्रतिवेदनअनुसार निगमले यसको न्यूनतम
मूल्य करिब ८७ करोड रुपैयाँ राखेर असारमा पहिलो पटक लिलामी सूचना आह्वान गरेको थियो । तर दुई पटकको सूचनामा पनि कुनै कम्पनी इच्छुक नदेखिएपछि तेस्रो पटक शुक्रबार भएको लिलामी बढाबढ प्रक्रियाबाट यो जहाज (५.७१ मिलियन डलर) ६५ करोड २२ लाख रुपैयाँमा अमेरिकी कम्पनी सीएसडीएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ इंकले सकारेको थियो ।
फिनटेकले गरेको न्यूनतम मूल्यभन्दा २२ करोड कममा सीएसडीएसलाई उसैले कबोल गरेको मूल्यमा विमान बेच्न निगम बाध्य भएको हो । असार ११ मा ४५ दिनको सूचना जारी गर्दै निगमले यसको न्यूनतम लिलाम दर ७६ लाख डलर (करिब ८७ करोड रुपैयाँ हाराहारी) राखेर टेन्डर निकालेको थियो । तर सार्वजनिक खरिद नियमावलीअनुसार तीन वटा कम्पनीको प्रस्ताव नपरेपछि टेन्डर रद्द भएको थियो । त्यसपछि निगमले साउन २९ गते दोस्रो पटक टेन्डर आह्वान गरेको थियो । त्यसमा पनि खरिद नियमावलीअनुसार प्रस्ताव नआएपछि निगमले तेस्रो पटक कात्तिक २६ गते चार दिनको मात्रै लिलामी बढाबढको सूचना जारी गरेको थियो । उक्त प्रस्तावमा तीन वटा अमेरिकी कम्पनीले जहाज खरिद गर्न प्रस्ताव बुझाएका थिए ।
निगमका एक अधिकारीका अनुसार लिलामी प्रक्रियामा प्रस्ताव बुझाउने अमेरिकी कम्पनीहरूमा एभियोन सिस्टम इंक, सीएसडीएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ इन्क र एमके एभिएसन्स थिए । ती अधिकारीले तेस्रो पटकको न्यूनतम लिलामी मूल्य यसअघिका दुईवटा टेन्डरमा परेको
अधिकतम दरलाई आधार मानिएको बताए । यसअघिका दुई वटा टेन्डरमा उक्त जहाजसहित जगेडा इन्जिन, स्पेयरपार्टस आदिको अधिकतम प्रस्ताव ४८ करोड ५४ लाख रुपैयाँ मात्रै परेको थियो ।
१६ बिजनेस र १ सय ७४ इकोनोमी श्रेणी गरी १९० सिट क्षमता भएको यो विमान ०७५ कात्तिक ११ पछि व्यावसायिक उडानमा प्रयोग गरिएको छैन । हाल निगमले यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको छ । बोर्ड सदस्य पहाडीका अनुसार यस्को जगेडा इन्जिन भने निगमले रकम भुक्तानी नगरेका कारण स्पेनको एउटा मर्मत कम्पनीमा वर्षौंदेखि थन्किएको छ । यो विमानको लिलामी प्रक्रियामा सहभागी एक अधिकारीका अनुसार ९० हजार घण्टा उडिसकेको यो विमान खरिद गर्ने कम्पनीले यसलाई मर्मत गरेर उडानमै ल्याउने भनेका छन् । निगमसँग यहीखाले दुईटा विमान थिए । अर्को विमान अल्फा चार्ली अल्फा यसअघि नेपाली कम्पनी बीबी एयरवेजलाई करिब १७ करोड रुपैयाँमा बिक्री भइसकेको छ । निगमका अनुसार ३१ वर्षअघि यी विमानको मूल्य १ अर्ब रुपैयाँ हाराहारी परेको थियो । बोइङले सन् २००४ देखि यो मोडलको विमान उत्पादन गर्न बन्द गरिसकेको छ । तर, संसारभरका अधिकांश एयरलाइन्सले यो मोडलका विमान अझै उडानमै प्रयोग गरिरहेका छन् ।
निगमले पनि यही मोडलका दुइटा विमानबाट काठमाडौंदेखि पूर्वमा जापानको ओसाका, चीनको सांघाई तथा पूर्वमा लन्डन, पेरिस तथा फ्यांकफर्टसम्म उडाएको थियो । ५ वर्षअघि निगमले बोइङ कम्पनीका विमानलाई छाडेर एयरबसतर्फ मोडिएपछि आफ्ना दुइटा बोइङ हटाउने निर्णय लिएको थियो ।

अर्थ वाणिज्य

पर्यटकलाई बग्गी

- कान्तिपुर संवाददाता

कञ्चनपुर (रासस) ः नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आउने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ । ‘नेपाल भ्रमण वर्ष देशको पर्यटन प्रवर्द्धनमा मात्रै नभएर मान सम्मानसित पनि जोडिएकाले यसलाई सफल बनाउन पर्यटकलाई विशेष सम्मान दिन लागेका छौं,’ भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले भने, ‘ती पर्यटकलाई भोजन तथा आवासको समेत व्यवस्था गरेका छौं ।’

अर्थ वाणिज्य

सुजुकीको ॅसुपर स्याटर्डे’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले शनिबार ‘सुपर स्याटर्डे’ गर्ने भएको छ । यसमा ग्राहकले सुजुकीका चारपांग्रे गाडी खरिदमा १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बिमा र स्वामित्व हस्तान्तरणको सुविधा पनि पाउँछन् । एक दिन मात्र रहने यो योजना देशभर रहेका सुजुकीका ३६ वटा डिलरमा लागू हुने कम्पनीले जानकारी दिएको छ । 

अर्थ वाणिज्य

'जीबी बिज फेस्ट एन्ड बिज स्टार्ट–२०१९' मेला

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नव उद्यमीहरूका लागि अवसर प्रदान र तिनको प्रवर्द्धन गर्न गुगल बिजनेस ग्रुपले ललितपुर जाउलाखेलमा दोस्रो पटक शनिबार ‘जीबी बिज फेस्ट एन्ड बिज स्टार्ट–२०१९’ आयोजना गर्दै छ । नेपालका स्टार्टअप संस्थापकले विज्ञमार्फत व्यवसायमा उपयोगी हुने गुगलका विभिन्न व्यापार प्रविधि सिक्न स्टार्टअप प्रदर्शनी उपयोगी हुनेछ । प्रदर्शनीमा वर्कसप कार्यशालासमेत सञ्चालन गरिने आयोजकले जनाएको छ । दुई सयभन्दा बढी स्टार्टअपको प्रदर्शनी रहने मेला १० हजारले अवलोकन गर्ने अपेक्षा छ ।

अर्थ वाणिज्य

सानिमा–ब्लु क्रस सहकार्य

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सानिमा बैंक र ब्लु क्रस अस्पतालबीच उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले अस्पतालको उपचारमा १० प्रतिशतसम्म छुट पाउँछन् । बैंकका डिजिटल बैंकिङ प्रमुख विक्रम श्रेष्ठ र अस्पतालका कार्यकारी व्यवस्थापन समिति सदस्य सचिव रजत श्रेष्ठले सम्झौता–पत्रमा हस्ताक्षर गरे । 

अर्थ वाणिज्य

वाणिज्यको 'आरबीबी इम्पावरमेन्ट एकेडेमी'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रिय वाणिज्य बैंकले प्रदेश १ का युवाका लागि ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को दोस्रो चरणको कार्यक्रम सुरु गरेको छ । फाइनान्सियल ट्रेनिङ सेन्टरका रूपमा अगाडि बढाउने उद्देश्यले सुरु गरिएको एकेडेमीबाट युवालगायत सबैले लाभ लिन सक्नेछन् । प्रदेश १ अन्तर्गत स्नातक र स्नातकोत्तर डिग्री भएका कलेजका विद्यार्थी (कुनै प्रकारको काममा आबद्ध नभएका)लाई मात्र लक्ष्य गरी आवेदन आह्वान गरिएको बैंकले जानकारी दिएको छ । वित्तीय क्षेत्रमा करिअर बनाउन चाहने युवा विद्यार्थीका लागि यो अवसर रहेको बैंकले बताएको छ ।   

अर्थ वाणिज्य

सामुदायिकको ३२प्रतिशत बोनस सेयर

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ३२ प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ । शुक्रबार सम्पन्न लघुवित्तको छैटौं वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।

Page 13
समाचार

हिरासतमा एप–संवाद

भाषा अनुवादक नभएका कारण महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले हिरासतमा रहेका चिनियाँसँग मोबाइल एपमार्फत संवाद गरेको हो
- मकर श्रेष्ठ,मातृका दाहाल

(काठमाडौं) - प्रहरी ः तपाईंहरूको बसाइ कस्तो छ ?
चिनियाँ ः ठिकै छ ।
प्रहरी ः औषधि, पानी, खानेकुरा ?
चिनियाँ ः हामीलाई के–के सुविधा हुन्छ यहाँ ?
प्रहरी ः सामान्य खानेकुरा हुन्छ । औषधि, पानी चाहिएमा हामी ल्याइदिन्छौं ।
चिनियाँ ः (टाउको हल्लाउँदै र चिनियाँ भाषामै) धन्यवाद ।
प्रहरी ः केही परे हामीलाई भन्नुहोला ।
विभिन्न अपराध अभियोगमा अनुसन्धानका लागि हिरासतमा राखिएका चिनियाँ नागरिक र प्रहरीबीच सोमबार साँझ भएको संवाद हो यो । काठमाडौंको मनमैजु, बाँसबारी र बूढानीलकण्ठबाट सोमबार पक्राउ परेका १ सय २२ चिनियाँ हिरासतमा छन् ।
उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त महाराजगन्ज, सिंहदरबार, बालाजु, सोह्रखुट्टे र प्रहरी प्रभाग बूढानीलकण्ठको हिरासतमा राखिएको छ । थुनुवाको खानपान, स्वास्थ्य अवस्थालगायत न्यूनतम आधारभूत आवश्यकतालगायत हेरविचार गर्ने जिम्मा सम्बन्धित प्रहरी युनिटलाई नै हुन्छ । तर चिनियाँलाई पक्राउ गरिएपछि प्रहरीलाई भाषाको समस्याले निकै पिरोलेको छ । केही प्रहरी युनिटका थुनुवा कक्षमा चिनियाँ भाषा अनुवादकको सहयोग लिइए पनि अधिकांशमा त्यो सुविधा छैन । भाषा अनुवादक नभएका कारण महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठमा चिनियाँसँग संवाद गर्न प्रहरीले अनौठो उपाय/जुक्ति निकाल्यो, ‘आवाज रूपान्तरण हुने मोबाइल एपको
सहयोग लिने ।’
प्रभागका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) भूपेन्द्र गिरीले आफ्नो मोबाइलमा बोलेको कुरा ‘अंग्रेजीबाट चिनियाँ र चिनियाँबाट अंग्रेजी’ मा भाषा अनुवाद गर्ने एप डाउलोड गरे र त्यसकै आधारमा हिरासतमा रहेका चिनियाँसँग सहजै संवाद गरे । त्यही संवादका आधारमा प्रहरीले चिनियाँ थुनुवालाई तातो/चिसो पानीदेखि खाना र अन्य कुरा उपलब्ध गराए । एपकै माध्यमबाट चिनियाँले सामान मगाए ।
मंगलबार थुनुवालाई अनुसन्धानका लागि म्याद थप्न प्रहरीले सरकारी वकिलको कार्यालय पुर्‍यायो । त्यसक्रममा बूढानीलकण्ठबाट लगिएका थुनुवालाई सरकारी वकिलले आधिकारिक अनुवादकमार्फत हिरासतमा कस्तो व्यवहार भयो भनेर सोध्दा चिनियाँले ‘हामीलाई एकदम राम्रो गर्नुभयो, उहाँहरूलाई धन्यवाद’ भन्ने जवाफ दिए । इन्स्पेक्टर गिरीले बोलीचालीमा सहज बनाउन प्रविधिको प्रयोग गरिएको बताए । ‘थुनामा रहेका चिनियाँसँग कुराकानी गर्न हामीसँग अनुवादक थिएनन्, त्यही भएर विकल्पका रूपमा मोबाइल एपबाट भाषा रूपान्तरण गरेर आवश्यक परेका बेला संवाद गर्छौं,’ गिरीले कान्तिपुरसँग भने, ‘यसबाट धेरै सहज भएको छ ।’
बूढानीलकण्ठ प्रहरीले एपबाट संवादको उपाय निकाले पनि अन्य युनिटमा रहेका चिनियाँसँग दोहोरो संवादको अझै समस्या छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले एपको सहयोगमा भाषा रूपान्तरण गरेर थुनुवासँग कुराकानी गर्नुलाई प्रविधिको सदुपयोगको उच्चतम प्रयोग भएको बताए । सुवेदीले भाषा अनुवादक पर्याप्त नभएकाले थुनुवा कक्षमा त्यो सुविधा पुर्‍याउन नसकिएको
स्पष्ट पारे ।
‘केही प्रहरी अधिकृतले यदाकदा आइपर्ने समस्या समाधान गर्न निकालेका यस्ता उपाय स्मार्ट पुलिसिङ र प्रविधिको सही सदुपयोगको उच्चतम नमुना हो,’ एसएसपी सुवेदीले भने, ‘यो उपायलाई अन्य युनिटमा पनि लागू गर्न भन्छौं ।’ काठमाडौंका ३ स्थानका १० वटा घरबाट एकैपटक छापा मारेर नियन्त्रणमा लिइएका चिनियाँसँग बयानका लागि विश्वभाषा क्याम्पसबाट आधिकारिक अनुवादकको सहयोग लिइएको छ । त्यसबाहेक प्रहरीसँग भएका, पर्यटन विभागको सम्पर्कमा रहेका तथा अन्य माध्यमबाट सम्पर्कमा रहेकाबाट पनि चिनियाँसँगको बयानमा अनुवादकका रूपमा सहयोग लिइएको सुवेदीले जानकारी दिए ।

 

समाचार

अध्यागमन छलेर भित्रिएका थिए चिनियाँ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– इन्टरपोलको रेडकर्नर नोटिसमा सूचीकृत तीन जना चिनियाँ कुख्यात अपराधी अध्यागमनलाई छलेर नेपाल भित्रिएको खुलासा भएको छ । चीनमा अपराध गरेर भागेका उनीहरू पछिल्लो एक वर्षको अवधिमा पर्यटक र बिजनेस भिसामा नेपाल भित्रिएका हुन् ।
‘ईजी ००९१७४५’ राहदानी भएका जहाङ जोङमोउले ०७६ भदौ १२ मा र ‘ईडी ८७८९४६५’ का यु अइहाइले ०७५ मंसिर १२ मा पर्यटक भिसा लिएका थिए भने ‘ईई ७८६२३१०’ राहदानीवाहक क्यु क्विङले ०७६ कात्तिक २ मा बिजनेस भिसा लिएका थिए । उनीहरूको भिसा अवधि सकिइसकेको छ । चीनले उनीहरूलाई कुन कसुरमा अपराधी ठहर गरेको भन्नेबारे अध्यागमनका अधिकारीले खुलाउन चाहेका छैनन् ।
कुख्यात अपराधीहरू कसरी वैधानिक रूपमा नेपाल भित्रिए भन्ने कान्तिपुरको प्रश्नमा विभागका निर्देशक रामचन्द्र तिवारीले नेपाल भित्रिएपछि मात्रै इन्टरपोलले उनीहरूविरुद्ध रेडकर्नर नोटिस जारी गरेको दाबी गरे । ‘नेपाल आइसकेपछि मात्रै उनीहरूलाई इन्टरपोलले रेडकर्नर सूचीमा राखेर खोजबिन गरेको हो,’ उनले भने, ‘उनीहरू रेडकर्नर नोटिसधारी अपराधी हुन् भनेर हामीलाई जानकारी आएको छ । अध्यागमनको कालोसूचीमा राखेर खोजबिन बढाइसकेका छौं ।’
उनका अनुसार अध्यागमनको अभिलेखअनुसार तीनै जना नेपालबाट बाहिरिएको देखिँदैन । रेडकर्नर नोटिसधारी जहाङ सन् २०१९ अगस्ट २९ मा नेपाल भित्रिएका थिए । युलाई २८ नोभेम्बर २०१८ मा आएर २५ फेब्रुअरी २०१९ सम्म बस्ने गरी विभागले पटक–पटक गरेर भिसा दिएको देखिन्छ । क्युले २०१९ अक्टोबर १९ मा आएर नोभेम्बर २७ सम्मको भिसा लिएका थिए । उनीहरूलाई पक्राउ गरिदिन चीनले एक महिनाअघि नेपालस्थित आफ्नो राजदूतावासमार्फत कूटनीतिक पत्राचार गरिसकेको छ । चीनको विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयलाई पक्राउ गरिदिन पत्राचार गरेको थियो । परराष्ट्रले गृह मन्त्रालय हुँदै मंसिर तेस्रो साता प्रहरी प्रधान कार्यालय र अध्यागमन विभागलाई त्यसको जानकारी गराएको थियो ।
स्रोतका अनुसार चीनले पक्राउ गरेर अध्यागमन कानुनअनुसार फिर्ता गरिदिन आग्रह गरेको छ । अपराधमा संलग्न विदेशी नागरिकलाई भारतबाहेक तेस्रो मुलुक सुपुर्दगी गर्न पाइँदैन । त्यही कारण उसले अध्यागमन नियम उल्लंघनको कसुरमा फिर्ता गर्न दबाब दिएको स्रोतको भनाइ छ । नेपालमा बसेर दुर्लभ वन्यजन्तु, सुन, विदेशी मुद्रालगायतको तस्करी, प्रतिबन्धित लागूपदार्थ ओसारपसार, हुन्डी कारोबार, बैंक ह्याकिङलगायत अपराधमा चिनियाँ गिरोहको संलग्नता देखिएको छ ।

समाचार

लुम्बिनीमा कुहिन्छन् भेटी

लुम्बिनीमा चढाइएका मुद्रा, जुन नेपाल राष्ट्र बैंकले विनिमय नगर्ने मुलुकका छन्, प्लास्टिक र कपडाको पोकामा थन्किएका छन् ।
- माधव ढुंगाना

(भैरहवा) - विभिन्न मुलुकबाट आउने बौद्ध धर्मावलम्बीले मायादेवी मन्दिर र अशोक स्तम्भमा चढाएको भेटी व्यवस्थापन हुन नसक्दा कुहिन थालेको छ । श्रद्धालुले चढाएका मुद्रा धेरै वर्षदेखि ओसिलो ठाउँमा पोको पारेर थन्क्याइएकाले सड्न थालेको हो ।
लुम्बिनीमा स्वदेशी तथा विदेशी गरेर वार्षिक सरदर १५ लाख श्रद्धालु आउँछन् । उनीहरूले चढाएको मुद्रा व्यवस्थापनमा चासो दिइएको छैन । वर्षौंअघि चढाइएका स्वदेशी र विदेशी कैयौं नोट धुजाधुजा भएका छन् । कुनै कुनै मुलुकको एउटै नोट एक लाखसम्मको छ । कतिपय पुरानो भएकाले मेसिनले रिड नगर्ने अवस्थामा छन् । विदेशीले चढाएका मुद्रा नेपाल राष्ट्र बैंकले विनिमय नगर्ने मुलुकका भएकाले उपयोगमा आउन नसकेका हुन् । दानबाट संकलित १९ करोड रुपैयाँभन्दा धेरैका विदेशी मुद्रा कागजको खोस्टोसरह बनेका हुन् ।
लुम्बिनी विकास कोषले यी मुद्राको उपयोग कसरी गर्ने भनेर ६ वर्षअघिदेखि नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । तर अहिलेसम्म कुनै निर्णय भएको छैन । ‘विदेशी मुद्राको व्यवस्थापन टाउको दुखाइको विषय हुन थालेको छ,’ कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले भने, ‘जम्मा भएका विदेशी सिक्कालाई साबुन/सरफ लगाएर सफा गर्न पनि दुई–चारजना मान्छे लगाउनुपर्ने अवस्था छ ।’
भट्टराईका अनुसार विदेशी मुद्रा साट्न अपनाउनुपर्ने प्रक्रिया पूरा गर्न धेरै खर्च लाग्छ । त्यसैले साट्नुभन्दा थन्क्याउनु बेस हुने अवस्था आएको उनले बताए । जम्मा भएका सिक्कालाई लिलामी गर्ने कि भनेर पनि कोषले सोचिरहेको उनले बताए ।
कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले ०४२ सालदेखि विदेशी मुद्रा संकलन हुँदै आएको बताए । ‘पुराना नोटलाई थप क्षति हुन नदिन हावा नपस्ने गरी प्लास्टिकले कपडामा लपेटेर राखिएको छ,’ उनले भने, ‘यसबारेमा मैले दुई/तीन चरणमा नेपाल राष्ट्र बैंकसमक्ष कुरा राखेको छु ।’ राष्ट्र बैंकले सिंगापुरमा रहेको बैंकमा सटहीका लागि ती मुद्रा लैजानुपर्ने र सटही हुन नसके नोट पनि फिर्ता नआउने जानकारी दिएपछि झन् अन्योल भएको उनले बताए । ‘अब के गर्ने भन्नेबारे कुनै निर्णय भएको छैन । मैले मात्र जोखिम उठाएर अघि बढ्न पनि भएन,’ उनले भने ।
मायादेवी मन्दिर परिसर र अशोक स्तम्भ वरपर क्षेत्रमा श्रद्धालुले दानस्वरूप आफ्नो मुलुकको पैसा चढाउने गर्छन् । केहीले दानपात्रमा राख्छन् । कैयौंले अशोक स्तम्भ, बुद्ध जन्मस्थलमा राखिएको शिला र मायादेवी मन्दिरभित्र घुम्ने बाटो र इँटामा पैसा चढाउने गर्छन् । कोषाध्यक्ष शाक्यका अनुसार संकलित भेटी तीन/तीन महिनामा गनेर आम्दानी बाँध्ने गरिन्छ । दानपात्र बाहिर छिरोलिएका पैसा मन्दिर परिसरमा खटिएका सुरक्षाकर्मीले दिनहुँ संकलन गरेर दानपात्रभित्र राखिदिने गर्छन् । बैंकमा सटही हुने पैसा तत्काल कोषको आम्दानीमा जाने गर्छ । नहुने पैसालाई मुचुल्का बनाएर कपडामा पोको पारेर राख्ने गरिएको छ ।
सटहीका लागि यहाँबाट लगिएका विदेशी मुद्रा फिर्ता नआएपछि कुनै निकायले सोधखोज र छानबिन गर्दा को जिम्मेवार हुने भन्ने डरले ठोस निर्णय हुन नसकेको कोषका कर्मचारीले बताए । कोषका अनुसार दानका रूपमा प्राप्त यस्ता विदेशी मुद्रा हरेक वर्ष कोषले आम्दानीका रूपमा हिसाब राख्दै आएको छ । गत असार मसान्तसम्म १९ करोड रुपैयाँभन्दा धेरैको मुद्रा जम्मा भएको छ । जसमध्ये, म्यानमारको ९ करोड १६ लाख, भियतनामको ६ करोड ७४ लाख, इन्डोनेसियाको २ करोड ५० लाख रुपैयाँ बराबरका मुद्रा छ । श्रीलंका, मंगोलिया, बंगलादेश, लाओस, ओमान, मंगोलिया, भुटानदेखि आफगानिस्तान, युगान्डा, कंगोलगायत मुलुकका मुद्रा छन् । नेपाल राष्ट्र बैंकले नलिने भएपछि दानमा प्राप्त भएका सिक्काको गणना नै छैन ।
कोषले ०७१ चैत ५ गते सबै नोटको विवरणसहित राष्ट्र बैंकको सिद्धार्थनगर शाखामा पत्राचार भएको दाबी गरेको छ । कोषले भनेजस्तो विववरणसहितको जानकारी फेला नपरेको राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराईले बताए । ०७४ वैशाख २९ गते संकलित विदेशी मुद्रा सटही व्यवस्थापनको प्रक्रिया अघि बढाउन सबै नोटका विवरण र कोषको आधिकारिक धारणासहित आउन राष्ट्र बैंक शाखाले नै पत्राचार गरेको उनको भनाइ छ । ‘यस्ता नोट सटहीका लागि बैंक अफ सिंगापुरसँग नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय विभागमार्फत समन्वय गरेर अघि बढ्ने हो,’ निर्देशक भट्टराईले भने, ‘कतिपय नोट सटही नभएर ‘सिज’ पनि हुन सक्ने भएकाले यसबारे लुम्बिनी विकास कोष आधिकारिक धारणासहित आउनुपर्छ ।’ पुरानो प्रिन्ट भएका नोटको सटही नहुने उनले बताए ।
यस्ता मुद्रालाई उपयोगमा ल्याउनेबारे सरकारले पनि चासो दिएको छैन । राष्ट्र बैंकले सटही नगर्ने भए पनि नेपालले दौत्य सम्बन्ध कायम राखेको मुलुकमा आफ्नो दूतावासमार्फत पहल गरे समस्या समाधान हुन सक्ने कोषका एक कर्मचारीले बताए । ‘जहिले पनि सरकारलाई पनि यस्तो समस्याभन्दा आफ्ना कार्यकर्तालाई कोषको पदाधिकारीमा कसरी नियुक्ति गर्ने भन्ने चासो हुन्छ,’ ती कर्मचारीले भने ।
कोषका पूर्वकोषाध्यक्ष ओमप्रसाद अर्यालले विदेशी मुद्रालाई उपयोगमा ल्याउन नसक्नुमा कोष र सरकारको कमजोरी रहेको बताए । ‘म कोषमा रहँदा ती नोटलाई प्रयोगमा ल्याउन सक्दो प्रयास गरे पनि सफल भइनँ ।’ नोट उपयोगमा ल्याउन राष्ट्र बैंकमा पूर्वगभर्नरदेखि प्रधानमन्त्रीसम्म कुरा राख्दा पनि सुनुवाइ नभएको उनले बताए ।

समाचार

दुई दुर्घटनामा ७ को मृत्यु

- कान्तिपुर संवाददाता


मकवानपुर (कास)– नुवाकोट र काठमाडौंमा शुक्रबार भएका छुट्टाछुट्टै जिप र टिपर दुर्घटनामा सात जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुरबाट काठमाडौं जाँदै गरेको टाटासुमो मकवानपुरको इन्द्रसरोवर–३ ओखरडाँडामा सडकबाट करिब दुई सय मिटर तल खस्दा तीन जनाको घटनास्थलमै र दुईको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ ।
हेटौंडा–काठमाडौं छोटो दूरीको सडकमा ना१ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दुर्घटना हुँदा मृत्यु हुनेमध्ये रौतहटको चपुर–९ का दम्पती २१ वर्षीय मनीष विक र २० वर्षीया सिर्जना विकको मात्रै पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए । तीन जनाको शव हाल काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनामा घाइते चार जनाको काठमाडौंमा उपचार भइरहेको छ । घाइतेमध्ये सर्लाहीको वाग्मती–११ का २२ वर्षीय रञ्जित रिजाल र रौतहटको बरहथवा–५ का ५६ वर्षीय जय साहको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
चालक हेटौंडा–१७ गंगटेका अनिल विक र यात्री सर्लाही वाग्मती–९ का २७ वर्षीय रञ्जित रिजालको मेडिसिटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ‘प्रारम्भिक अनुसन्धानअनुसार ओभर स्पिडमा कुदाउँदा गाडी कन्ट्रोल गर्न नसकेर दुर्घटना भएको देखिएको छ,’ प्रहरी निरीक्षक कुर्मीले भने ।
उता नुवाकोट संवाददाताका अनुसार नुवाकोट सीमामा पर्ने काठमाडौंको तारकेश्वर नगरपालिका–३ तीनपिप्लेको कोटमा फोहोर बोकेर सिसडोल जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना३ख ३३८ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट पल्टिँदा चालक हेटौंडाका माइला लामा र सहचालक धादिङ गल्छीका कमल लामाको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । बालाजु प्रहरी वृत्तका डीएसपी रञ्जितसिंह राठौरका अनुसार कीर्तिपुरबाट फोहोर लिएर सिसडोल जाँदै गरेको टिपरले च्यापिएका चालक र सहचालकको शव क्रेन बोलाएर झिकिएको हो ।

समाचार

१० रुपैयाँमै खाना

- कान्तिपुर संवाददाता

(मोरङ) -  सादा खाना सय रुपैयाँ घटी कतै पाइँदैन । यस्तो बेला १० रुपैयाँमा पेटभरि खाना खान पाइयो भने अचम्म नमान्ने विरलै होलान् । विराटनगरको काली मन्दिर अगाडि १० रुपैयाँमै अघाउँजी खाना पाइन्छ । भात पनि बासमती चामलको ।
यहाँका केही समाजसेवी र व्यापारीहरूले तीन दिनयता यसरी खाना खुवाउन थालेका हुन् । सामाजिक उत्तरदायित्व भन्दै गत बुधबारदेखि सुरु भएको लागत पनि नउठ्ने दरमा खाना खुवाउने यो अभियान चर्चामा छ । पहिलो दिनबाटै दैनिक आठ सय जनाले खाना खाइरहेका छन् । शुक्रबार आठ सय जनाले बासमती चामलको भात र राजमाको तरकारी खाए । स्थानीय दिलीप धाडेवाल, दीपक पौडेल, नन्द तापडिया, आमोद कुइँकेल, मनोज भगत, पवन अग्रवाल र मोहन भगतले न्यूनतम मूल्यमा खाना खुवाउन सुरु गरेका हुन् । १० रुपैयाँमा पेटभरि खान मात्र होइन, २० रुपैयाँमा प्याकिङ गरेर घरै लैजान पाइने पनि व्यवस्था छ । आठ सय जना जतिलाई भात र तरकारी पेटभरि खुवाउँदा दैनिक १५/१६ हजार खर्च भइरहेको धाडेवालले बताए । ‘दैनिक खाना खुवाउनका लागि सहयोगी मनकारीहरूले सघाइरहेका छन्,’ उनले भने, ‘कसैले आफ्नो नामबाट खाना खुवाउन चाहेको अवस्थामा ११ हजार रुपैयाँ लिएर हामीले उनको नामबाट खाना खुवाउँछौं ।’ बजारमा सफा र शुद्ध खाना पाउनै गाह्रो रहेको अवस्थामा आफूहरूले यो अभियान सुरु गरेको धाडेवालले बताए । ‘बजारमा शुद्ध शाकाहारी खाना पाउन गाह्रो भएकाले हामीले यो सानो सुरुवात गरेका हौं,’ उनले भने, ‘यो अभियानलाई देशभरि पुर्‍याउने योजना छ ।’
मनकारीहरूबाट सहयोग जुटाएर सित्तै खुवाउन सकिने भए पनि न्यूनतम १० रुपैयाँ शुल्क तोकेर अभियान सुरु गरेको मनोज भगतले बताए । ‘फ्री दियो भने भिखारीले खाने भन्दै कतिपय खान आउँदैनन्,’ उनले भने, ‘त्यसैले धनी–गरिब सबैलाई बराबर १० रुपैयाँमा पेटभरि र २० रुपैयाँमा होम डेलिभरी खाना दिइरहेका छौं ।’ ५०/६० किलो तरकारी र ६० किलो जति बासमती चामल दैनिक खपत भइरहेको उनले बताए । काली मन्दिर अगाडि दैनिक भिख माग्नेहरू बस्छन् । उनीहरूलाई दान गर्नेहरूले ५–१० रुपैयाँ दिने गरेका छन् । ‘भिखारीहरूलाई दाताले पुण्य कमाउन भन्दै पैसा दान गरेका थिए, तर उनीहरूमध्ये कतिपय मगन्तेले त्यो पैसाले रक्सी खाने गरेको देखियो,’ उनले भने, ‘त्यसैले अब दाताहरूलाई पनि १० रुपैयाँमा पेटभरि खाना खुवाएर पुण्य कमाउने अवसर प्राप्त भएको छ ।’
भिख माग्नेहरू पनि पेटभरि शुद्ध खाना खान पाउँदा खुसी भएको र दाताहरू पनि १० रुपैयाँमै भोका, गरिब, विपन्नलाई पेटभरि खुवाउन पाएकामा खुसी छन् । हुने खाने परिवारका व्यक्तिहरू पनि खाना खान आउने गरेको धाडेवालले बताए ।
‘बजारमा धेरै गरिब, विपन्न र भोका मानिस आउने गरेका छन्, तर उनीहरूलाई सस्तोमा खाना खाने ठाउँको व्यवस्था छैन,’ उनले भने, ‘त्यसैले अब कसैलाई पनि विराटनगरमा भोकै बस्नुपर्ने अवस्था हुँदैन ।’ हुने खाने वर्गले १० रुपैयाँभन्दा बढी पनि पैसा तिर्न खोज्दा दानपेटिकामा दान गर्न आग्रह गर्ने गरेको र त्यहीअनुसार दान दिई सन्तुष्ट भएर जाने गरेको उनले सुनाए ।
सस्तोमा खाना खुवाउने अभियान भारतका विभिन्न राज्यमा त्यहाँका सरकारले नै चलाइरहेको थाहा पाएर आफूहरू प्रभावित भई सुरु गरेको धाडेवालले बताए । ‘हाम्रो देशमा पनि यस्ता अभियान सरकारी पक्षबाट चलाउनुपर्ने हो तर उनीहरूले गरेका छैनन्,’ उनले भने, ‘त्यसैले हामीले अभियान यहाँबाट थालेर देशैभरि पुर्‍याउने लक्ष्य लिएका छौं ।’
मनकारीको यो अभियानलाई सघाउन थुप्रै जना आउन सुरु भए पनि आफूहरूले दैनिक खाना खुवाउन ११ हजारमात्रै लिने गरेको उनले सुनाए । अहिले काली मन्दिर अगाडि खाना खुवाइरहेको र अब अस्पताल अगाडि खुवाउने योजना रहेको दीपक पौडेलले बताए । ‘अहिले सुरुवाती चरणमा यो अभियानको प्रचारप्रसारका लागि धेरै मानिस जम्मा हुने ठाउँमा सञ्चालन गर्छौं,’ उनले भने ।

समाचार

संसद् बैठक पाँच दिन धकेलियो

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सभामुखको विषयमा सत्तारूढ दल नेकपाभित्रै विवाद नमिलेपछि सभामुख चयन प्रक्रिया सुरु गर्ने गरी शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठक पुस १६ गतेसम्मका लागि स्थगित गरिएको छ । संसद् सचिवालयले शुक्रबार सूचना टाँसेर बैठक स्थगित गरेको हो ।

समाचार

चन्द समूहविरुद्ध कठोर बन्न निर्देशन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– केन्द्रीय सुरक्षा समिति बैठकले नेत्रविक्रम चन्द समूहविरुद्ध अझ कठोर नीति लिन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले चन्द समूहलाई निस्तेज पार्न सशक्त कारबाही थाल्न भनेको छ । बैठकमा सेना, गृह, नेपाल प्रहरी, सशस्त्र, अनुसन्धान विभागका प्रमुख तथा अधिकारीलगायत सम्मिलित थिए । 

समाचार

ॅस्वास्थ्य पर्यटनअनुकूल नीति अभाव’

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– मुलुकमा स्वास्थ्य पर्यटनअनुकूल कानुनी संरचनाको अभाव रहेको विशेषज्ञहरूले औंल्याएका छन् । राजधानीमा शुक्रबार सुरु ‘नेपाल चिकित्सा पर्यटन एसिया शिखर सम्मेलन’ मा उनीहरूले स्वास्थ्य पर्यटनले मुलुकको द्रुत आर्थिक विकासमा उल्लेख्य योगदान दिने भए पनि सरकारी पहल खासै नभएको बताए ।

Page 14
समाचार

सामाजिक सुरक्षामा किन अनिच्छुक ?

- होम कार्की

(काठमाडौं) - अमेरिकाले आर्थिक तथा सामाजिक रूपमा जोखिममा परेका आफ्ना नागरिकको संरक्षणका लागि सामाजिक सुरक्षा योजना लागू गरेको ८४ वर्षपछि नेपालले गत साउन १ देखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्‍यो । जसलाई
सरकारले ॅनयाँ युगको सुरुवात’ भन्यो । आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकमाथि आइपर्ने सबै जोखिमलाई सम्बोधन गर्दै लगानीअनुकूल वातावरण बनाउन भनेर सुरु गरिएको सामाजिक सुरक्षा योजनामा अपेक्षा गरिएअनुसार
रोजगारदाता सहभागी भएनन् । बरु नयाँ कोषबारे अनेक भ्रम सिर्जना भए । कोष, यसले सञ्चालन गर्ने योजना र उठेका विवादसम्बन्धी प्रस्तुत छ, ॅकान्तिपुर एक्सप्लेनर’ :


सामाजिक सुरक्षा कोष के हो ?
सामाजिक सुरक्षा कोष श्रमिकको सामाजिक सुरक्षा हक सुनिश्चित गर्न उनीहरूकै योगदानमा आधारित स्वतन्त्र निकाय हो । संविधानको धारा ३४ मा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्येक श्रमिकको मौलिक हकका रूपमा उल्लेख गरिएको छ । सामाजिक सुरक्षाको प्रमुख सिद्धान्त जोखिम हस्तान्तरण हो । श्रमिकको आम्दानी घटेको अवस्थामा आम्दानीलाई निरन्तरता दिने हो । मानिसको जीवनचक्रमा हुन सक्ने अस्वस्थता, सुत्केरी, मृत्यु, दुर्घटना, वृद्धावस्था जस्ता सामाजिक जोखिमका कारण सिर्जित परिस्थितिलाई सम्बोधन गर्ने हो । यसलाई लगानीअनुकूल वातावरण बनाउने र औद्योगिक श्रम विवाद अन्त्य गर्ने साधनका रूपमा लिइएको छ ।
सामाजिक सुरक्षा ऐनअनुसार सरकारी सेवा, निजी क्षेत्र, स्वरोजगार र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षालाई प्रत्याभूति गरिएको छ । कोषले प्रारम्भिक चरण (१ साउन २०७६) बाट भने श्रम ऐन, २०७४ आकर्षण हुने निजी क्षेत्रमा कार्यरत सबै प्रकारका श्रमिक र रोजगारदाताको योगदान संकलन गरिरहेको छ ।
कोषमा कसले कसरी योगदान गर्ने ?
नेपालमा कार्यरत स्वदेशी र विदेशी सबैखाले श्रमिक यसमा सहभागी हुन सक्छन् । कोषमा प्रत्येक महिना श्रमिकको आधारभूत तलबको ३१ प्रतिशत रकम जम्मा हुन्छ । त्यसमा २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकको योगदान रहन्छ । श्रमिकले खाइपाई आएको सुविधा र तलबमा कटौती हुँदैन । रोजगारदाताले कम्पनी कोषमा सूचीकरण गरेपछि मात्रै श्रमिकको नाम दर्ता हुन्छ । श्रमिकलाई कार्ड नम्बर दिइन्छ । श्रमिकले रोजगारदाता परिवर्तन गरे पनि कार्ड नम्बर सधैं
एउटै रहिरहन्छ ।
कोषबाट के सुविधा पाइन्छ ?
कोषले हाल चार किसिमका सुविधा उपलब्ध गराउँछ– क. औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, ख. दुर्घटना तथा अशक्तता सुरक्षा, ग. आश्रित परिवार सुरक्षा र घ.वृद्ध अवस्था सुरक्षा । यीमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा श्रमिकले कोषमा योगदान सुरु गरेको तीन महिनाबाट पाउन थाल्छन् । दुर्घटना तथा अशक्तता सुरक्षा योगदान सुरु गरेकै दिनदेखि पाउनेछन् । योगदानकर्ताले १५ वर्षसम्म कोषमा रकम जम्मा गरे ६० वर्षपछि आजीवन पेन्सन पाउनेछन् । योगदानकर्ताको जुनसकै कारणबाट मृत्यु भए पनि आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत उसको परिवारले जम्मा भएको सबै रकम एकमुष्ट फिर्ता र पेन्सन दुवै पाउनेछ । ‘योगदानकर्ताको मृत्यु भएर दुई आश्रित परिवारलाई जीवनभरका लागि पेन्सन दिन थालिसकेका छौं,’ कोषका कार्यकारी प्रमुख कपिलमणि ज्ञवालीले भने, ‘थप दुई जनाको आश्रित परिवार प्रक्रियामा छन् ।’ कोषअन्तर्गत बेरोजगार सहायता योजनासमेत सुरु गर्ने भनिएको छ ।
यसबाहेक योगदानकर्तालाई कोषले सापटी ऋण पनि दिन सक्नेछ । १५ वर्षसम्मको तलब वा एक करोड रुपैयाँसम्म ऋण दिन सक्ने गरी लगानीको कार्यविधि बनिसकेको छ ज्ञवालीले बताएका छन् । उनले भने, ‘यो ऋण घर बनाउन, घरजग्गा खरिद गर्नदेखि शैक्षिक कर्जाका लागि दिइनेछ ।’
कोषले सापटी ऋण पनि दिन्छ । ‘योगदानकर्तालाई १५ वर्षसम्मको तलब वा एक करोड रुपैयाँसम्म ऋण दिन सक्ने गरी लगानीको कार्यविधि बनिसकेको छ,’ ज्ञवालीले भने, ‘यो ऋण घर बनाउन, घरजग्गा खरिद गर्नदेखि शैक्षिक कर्जाका लागि दिइनेछ ।’
कोष कसरी सञ्चालन हुन्छ ?
श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिवको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । यसमा रोजगारदाताका तर्फबाट ३ जना, ट्रेड युनियन संगठनबाट ३ जना, उद्योग, अर्थ, भूमिसुधार र राष्ट्र बैंकबाट एक–एक जना प्रतिनिधि सदस्य रहन्छन् । कोषको कार्यकारी निर्देशक समितिको सदस्य सचिव रहन्छन् ।
कोषको लगानीकर्ता सरकार होइन, श्रमिक र रोजगारदाता हुन् । ११ सदस्यीय सञ्चालक समितिमा सरकारका प्रतिनिधि चार जना मात्र रहने भएकाले सरकारले मनखुसी गर्ने सम्भावना हुँदैन । कोषको हिसाबकिताब र स्रेस्ताको लेखापरीक्षण महालेखापरीक्षकबाट हुन्छ ।
कोषको रकम कहाँ कति लगानी गर्ने भनेर सञ्चालक समितिले नै टुंगो लगाउँछ । ऐनले जोखिम न्यूनीकरणका लागि एउटै क्षेत्रमा २० प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने व्यवस्था गरेको छ । ऐनअनुसार कोष जोखिममा परे कोषको सबै दायित्व र जिम्मेवारी सरकारमा सर्छ । ‘यो सरकारी कोष हुँदै होइन । यो रोजगारदाता र श्रमिकको मात्रै हो । हाम्रो पैसा सरकारले लगेर राख्यो भन्ने श्रमिकलाई भ्रम छ,’ सामाजिक सुरक्षा ऐन बनाउन सुरुवाती चरणमा सक्रिय पूर्वसचिव पूर्णचन्द्र भट्टराईले भने, ‘यसबाट सरकारले एक पैसा पनि लिन पाउँदैन । कोषको
सबै नाफा श्रमिकलाई नै हो । राज्यको अरू
खातामा जाँदैन । जति प्रतिफल आउँछ, योगदानकर्ताकै खातामा जान्छ ।’
कोषमा सहभागिता अनिवार्य हो ?
कोषमा रोजगारदाता र श्रमिकको योगदान अनिवार्य हो । सञ्चय कोष र नागरिक लगानी कोषमा सहभागी श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आउनुपर्छ । तिनमा जम्मा भइसकेको रकम श्रमिकले फिर्ता लिन वा सामाजिक सुरक्षा कोषमा जम्मा गर्न सक्छन् ।
२०७६ साउन १ देखि आफूसँग सम्बन्ध जोडिएको श्रमिकलाई रोजगारदाताले कोषमा सहभागी गराउनुपर्नेछ । नगराए कोषले ब्याजसहित पछि रोजगारदातालाई सहभागी गराउनुपर्छ र नगराए रोजगारदातासँग असुलउपर गरिन्छ ।
रोजगारदाताको आनाकानी किन ?
रोजगारदाता र श्रमिकको सहमतिमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष आएको हो । सामाजिक सुरक्षामा जान श्रमिक (ट्रेड युनियन) ले श्रम ऐनमा स्थायी हुनुपर्ने अडान छाडे । रोजगारदाताको मुख्य माग रहेको ‘हायर एन्ड फायर’ नीतिमा श्रमिक सहमत भए । कम न्यूनतम तलबमै सहमति जनाए । तर सामाजिक सुरक्षा कोषले कोषमा सहभागी हुन
आह्वान गरेको एक वर्ष नाघिसक्दा पनि १० हजार रोजगारदाता मात्रै सहभागी भए । तिनले एक लाख ३५ हजारलाई मात्रै सहभागी गराए । कम्तीमा ३५ लाख श्रमिक कोषमा आइसक्नुपर्ने थियो । ट्रेड युनियनहरूको छाता संगठन संयुक्त ट्रेड युनियन महासंघ (जेटीयूसी) का अध्यक्ष विनोद श्रेष्ठले श्रमिकलाई न्यूनतम तलब, उपदान र सञ्चय कोषको सुविधा दिनुपर्ने देखिएपछि रोजगारदाता अनिच्छुक भएको बताए । ‘आफूले दिँदै आएको तलब पारदर्शी हुने डरले पनि रोजगारदाता कोषमा सहभागी नभएका हुन् । कर छल्न रोजगारदाताले तलबमानको विवरण दुईथरी बनाउँछन् । रोजगार सेवा अवधि सकिएपछि उपदान दिने भनिए पनि रोजगारदाताले उपदान कोष बनाउने गरेका छैनन्,’ उनले भने ।
कोषमा सूचीकृत रोजगारदाताले राज्यले तोकेको न्यूनतम सेवासुविधा नदिनासाथ कोषको सफ्टवेयरमा रातो बत्ती बल्छ । कोषमा सरकारद्वारा तोकिएको न्यूनतम तलबभन्दा कम सञ्चय कोष र उपदान जम्मा गर्न पाइने छैन । रोजगारदाताहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यसबारे प्रस्ट रूपमा आफ्नो सवाल सार्वजनिक रूपमा भने उठाएको छैन । उनीहरू जान्छौं भनिरहेका छन् तर गएका छैनन् ।
के रोजगारदाता र श्रमिकको खर्च बढ्यो ?
यो कोषमा सहभागी भएबापत रोजगारदातालाई चाहिएका बेला श्रमिकलाई राख्ने र निकाल्ने व्यवस्था गरिएको छ । ठूलादेखि साना रोजगारदाताले आफूअनुकूल काम लगाउन पाउँछन् । रोजगारदाताले आफ्नै हैसियतअनुसार श्रमिकसँग रोजगार सम्बन्ध (नियमित, कार्यगत, समयगत, आकस्मिक र आंशिक) छनोट गर्न छुट छ । त्यही प्रकृतिअनुसार तलब र भत्ता दिन मिल्छ । रोजगारदाताका तर्फबाट योगदान हुने २० प्रतिशतमध्ये सञ्चय कोषबापत १० प्रतिशत र उपदानबापत ८.३३ पुरानै श्रम कानुनले प्रत्याभूति गरेको विषय हो । बाँकी १.६७ पनि श्रमिकको बिमाका लागि खर्च हुने गरेकै छ । श्रमिकको पनि सञ्चय कोषबापत १० प्रतिशत र सामाजिक सुरक्षा कर (२०६७ देखि) बापत १ प्रतिशत कर काटिने गरेकै छ ।
‘श्रम कानुनलाई इमानदारीपूर्वक कार्यान्वयन गरिराखेका रोजगारदाताको खर्च यथावत् रह्यो । नयाँ खर्च केही थपिएन,’ जिफन्टका उपाध्यक्षसमेत रहेका सामाजिक सुरक्षाका विज्ञ रमेश बडालले भने, ‘पहिलादेखि नै श्रम ऐन छलिरहेका, श्रमिकलाई शोषण गरिरहेका रोजगारदाताको खर्च बढ्यो ।’
सामाजिक सुरक्षामा जाँदा रोजगारदाताको दायित्व झन् घटेको छ । श्रमिकलाई नियमित तलब दिए पुग्छ । अन्य दायित्व लिइराख्नुपर्दैन ।
बैंकर्सले उठाएको विवाद के हो ?
निजी क्षेत्रका बैंकहरूको छाता संगठन बैंकर्स एसोसिएसनले तीन विषयलाई प्रमुख रूपमा उठाएको छ । ‘कर्मचारीले खाइपाई आएको सेवा सुविधा नै काटिने भएपछि कसरी जान सकिन्छ ? कर्मचारीहरू अहिले यसरी जानु हुँदैन भनिरहेका छन्,’ एसोसिएनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने, ‘योगदानकर्ताले हाल आफ्नो आयमा ३६ प्रतिशतसम्म कर तिर्ने र अवकाश रकम लिँदा त्यही रकममा पुनः १५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्थाका कारण कर्मचारीले ५१ प्रतिशतसम्म कर तिर्नुपर्छ । यसरी कर्मचारीलाई दोहोरो मारमा पार्ने व्यवस्था हटाउनैपर्छ ।’ ५८ वर्षसम्म सेवा अवधि भएपछि पेन्सन किन ६० वर्षपछि पाउने भन्ने सवाल पनि छ ।
बैंकर्सको गुनासो कति जायज ?
बैंकमा काम गर्ने सबै श्रमिकलाई दोहोरो कर लाग्ने होइन । मासिक एक लाख ७० हजार रुपैयाँसम्म तलब खाने श्रमिकलाई कर लाग्दैन । त्यसभन्दा माथि तलब खाने श्रमिकलाई भने दोहोरो कर परेको हो । तर सामाजिक सुरक्षा ऐनमा कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिमको कोषले पाएसरहको छुट र सुविधा पाउने उल्लेख छ । यो व्यवस्थालाई अर्थ मन्त्रालयले व्याख्यासहित कर कार्यालयमा पत्र नपठाइदिँदा झमेला निस्किएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसबारे अर्थ मन्त्रालयको ध्यानाकर्षण गराइसकेको छ ।
कोषमा गएबापत कर्मचारीले खाइपाई आएको सुविधा कटौती गर्न नपाइने व्यवस्था श्रम ऐनले नै प्रत्याभूति गरिदिएको छ । दफा १७८ (३) मा लेखिएको छ, ‘यो ऐन जारी हुँदाका बखत प्रचलित कानुन वा सामूहिक सम्झौताद्वारा ऐनमा उल्लेख गरिएभन्दा बढी सुविधा प्राप्त गरिरहेको श्रमिकको सेवा, सर्त र सुविधामा यस ऐनमा उल्लिखित कुनै कुराले प्रतिकूल असर पारेको मानिने छैन ।’
‘यहाँ न्यूनतम तलबको मात्रै योगदान गर्ने हो । बैंकबाट थप पाउने सेवासुविधा बैंक व्यवस्थापन र श्रमिकबीचको कुरा हो,’ ज्ञवालीले भने । अर्कोतिर निजी क्षेत्रमा ५८ वर्षमै काम छाड्नुपर्ने बाध्यता छैन ।
के निजामती र श्रमिकबीच विभेद छ ?
सरकारले गत साउनदेखि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीका लागि योगदानमा आधारित पेन्सन दिने निर्णय गरेको छ । जसमा कर्मचारीका तर्फबाट ६ प्रतिशत र त्यो रकममा सरकारको शतप्रतिशत थपी कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने प्रावधान छ ।
श्रमिक र रोजगारदाताका तर्फबाट सामाजिक सुरक्षा कोषमा ३१ प्रतिशत रकम जम्मा गर्नुपर्छ । बैंकरहरूले पेन्सनका लागि निजामतीलाई १२ प्रतिशत र निजी क्षेत्रलाई २८.३३ प्रतिशत किन गर्नुपर्‍यो भन्दै प्रश्न उठाइरहेका छन् । श्रम मन्त्रालयका अनुसार कोषमा न्यूनतम तलबको ३१ प्रतिशतमात्रै जम्मा गर्नुपर्ने हो । निजामतीको खाइपाई आएको तलब सुविधाबाट योगदान काटिन्छ । जस्तो– निजामतीको खाइपाईको ४० हजारबाट १२ प्रतिशत हो भने कामदारको ४० हजारको ६० प्रतिशतबाट ३१ प्रतिशत हो ।
श्रम मन्त्रालयका अनुसार निजामतीको ‘पेन्सन स्किम’ मात्रै हो भने निजी क्षेत्रको श्रमिकको पेन्सनसहित पूर्ण सामाजिक सुरक्षा प्रदान गर्ने योजना हो । पुरानो निजामती सेवाका कर्मचारीलाई राज्यले शतप्रतिशत लगानी गरिरहेको छ । चालु आर्थिक वर्षका लागि मात्रै सरकारले पेन्सनका लागि कुल बजेटको झन्डै साढे दुई प्रतिशत रकम विनियोजित गरेको छ । सामान्य प्रशासन मन्त्रालयका पूर्वसचिवसमेत रहेका भट्टराईले निजामती कर्मचारी राज्यको दायित्वभित्र पर्ने बताए । ‘पेन्सनलाई तलबको एउटा हिस्साका रूपमा बुझ्छौं । पेन्सन भनेको सरकारलाई सेवा गरेबापत राज्यका तर्फबाट लामो समयका लागि दिइएको भुक्तानी हो । यसलाई निजी क्षेत्रसँग दाँजेर हेर्न मिल्दैन,’ उनले भने । बडालले पनि निजी र सरकारबीच फरक दायित्व रहेको बताए । ‘पहिला त एक पैसा योगदान नगरी राज्यले पेन्सन दिन्थ्यो । अब ६/६ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था लागू भयो,’ उनले भने ।
श्रमिकले पाउने सबै सामाजिक सुरक्षा योजना निजामतीलाई छैन । निजी क्षेत्रमा कार्यरत श्रमिकलाई व्यवसायजन्य रोग लागे जति खर्च लागे पनि भुक्तानी गर्ने सुविधा छ । निजामतीलाई त्यस्तो छैन । निजामती कर्मचारीले सञ्चय कोषमा जम्मा गरेको एकमुष्ट रकम फिर्ता पाउँदैनन् । यो रकम पेन्सनका रूपमा पाउने हो । बीचमा छाड्दा मात्रै निजामती कर्मचारीले उपदानका रूपमा एकमुष्ट बुझ्न पाउँछन् ।

समाचार

रक्सौल–काठमाडौं रेल डीपीआरका लागि पत्राचार

- कान्तिपुर संवाददाता

रेल विभागले भारत सरकारले अध्ययन गरिदिने भनेको काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ । ‘हामीले परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेर डीपीआरका लागि अनुरोध गरिसकेका छौं,’ विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘यसमा भारत सकारात्मक छ । काम चाँडो सुरु हुनेमा आशावादी छौं ।’
डीपीआरका लागि अनुरोध गरेको दुई महिना भइसकेको उनले जानकारी दिए । भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडको विज्ञ टोलीले पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई बुझाइसकेको छ । यो रेलमार्ग निर्माणको सुरु विन्दु वीरगन्जको रक्सौल हुनेछ । यो १३६ किमि रहने र यसभित्र ४२ किमि टनेल निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । लागत भने करिब ३ खर्ब लाग्ने अनुमान छ । ‘यो मार्गमा पनि पहाड धेरै पर्छन्, त्यसैले धेरै सुरुङ निर्माण गर्नुपर्छ,’ उनले भने, ‘जसले गर्दा लागत बढी पर्छ ।’

Page 15
खेलकुद

अनुभवीविरुद्ध युवा जोस

चितवन राइनोज र विराटनगर टाइटन्स शनिबार पीपीएल उपाधिका लागि भिड्दै
- कुशल तिमल्सिना,दीपक परियार
पोखरा प्रिमियर लिग उपाधिका साथ शुक्रबार फाइनल प्रतिद्वन्द्वी विराटनगरका कप्तान प्रदीप ऐरी र चितवनका कप्तान पारस खड्का । तस्बिर ः हेमन्त श्रेष्ठ/कान्तिपुर

(पोखरा) - पोखरा प्रिमियर लिग क्रिकेट (नमस्ते पीपीएल) को दोस्रो संस्करणको उपाधिका लागि चितवन राइनोज र विराटनगर टाइटन्सबीच शनिबार पोखरा रंगशालामा प्रतिस्पर्धा हुँदै छ ।
चिवतन गत संस्करणको उपविजेता हो । चितवनका कप्तान पारस खड्का र विराटनगरका कप्तान प्रदीप ऐरी दुवैले फाइनलमा राम्रो र सकारात्मक क्रिकेट खेल्ने बताए ।
चितवन अनुभवी खेलाडीले भरिएको टिम छ । राष्ट्रिय टोलीका पूर्व कप्तान पारससँग नै धेरै घरेलु फ्रेन्चाइज प्रतियोगितामा फाइनल खेलेको अनुभव छ । राष्ट्रिय टोलीका करण केसी, आरिफ शेखलगायतले एकरुपको प्रदर्शन गरिरहेका छन् । नेपाली लिगमा छुट्टै पहिचान बनाउन सफल विदेशी खेलाडी भारतका सन्नी पटेल, हङकङका पूर्व कप्तान बाबर हायत, यूएईका पूर्वकप्तान रोहन मुस्तफा टिमका मुख्य हतियार हुन् । लिग चरणमा शतप्रतिशत जित पाउने क्रममा यी तीन खेलाडीको प्रदर्शन नै निर्णायक रह्यो ।
त्यस विपरीत विराटनगरमा युवा र कम अनुभवी खेलाडीको जमघट छ । उनीहरू निकै कठिन गरी प्लेअफ हुँदै फाइनलमा पुगेका हुन् । लिग चरणमा ५ मध्ये २ खेल जितेर सनसनीपूर्ण सफलता पाएको विराटनगरका कप्तान प्रदीप आफैं फ्रेन्चाइज क्रिकेट पहिलोपल्ट नेतृत्व गरिरहेका छन् । विराटनगरले उपाधि जित्नका लागि शाहब आलम, लेकेश बम, किशोर महतो, मिनास थापालगायतका युवा खेलाडीबाट राम्रो नतिजाको आशा गर्नुपर्नेछ । पुनीत मेहराबाहेक अन्य दुई विदेशी खेलाडी पाकिस्तानका मोहम्मद जाइद आलम र नोमन खान नेपाली लिगका नयाँ अनुहार हुन् । अलराउन्डरको रूपमा आलमले राम्रो गरिरहेका छन् । नोमनको प्रदर्शन औसत छ ।
फाइनलमा प्रवेश गरेलगत्तै विराटनगरका कप्तान प्रदीपले आफ्नो टिममा युवा खेलाडी बाहुल्य रहेकाले उनीहरूलाई बेला–बेलामा झक्झक्याउनुपर्ने अवस्था रहेको बताएका थिए । त्यो भनेको उनीहरूलाई पटक–पटक जिम्मेवारीबोध गराउनु हो । लिग चरणको अन्तिम खेल तथा इलिमिनेटर चरणमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दा विराटनगरका युवा खेलाडीको जोशले धेरै भूमिका खेलेको थियो । कप्तान प्रदीप यही लयलाई निरन्तरता दिन चाहन्छन् ।
‘पछिल्ला खेलहरूमा हामीले जस्तो क्रिकेट खेलिरहेका छौं, त्यसलाई निरन्तरता दिन चाहन्छौं । फाइनलमा विपक्षी टिम निकै बलियो छ, अनुभवी खेलाडी छन् र सबै खेल जितेर आएको छ । फाइनलको नतिजा भोलिको अवस्थामा भरपर्ने कुरा हो । कस्तो अवस्थामा कस्तो प्रदर्शन आवश्यक पर्छ त्यहीअनुसार मैदानभित्रै योजना बनाएर खेल्नेछौं,’ कप्तानको रूपमा पहिलोपल्ट फ्रेन्चाइज प्रतियोगिताको फाइनल खेल्न पाउँदा उत्साही रहेको बताएका प्रदीपले शुक्रबार भने, ‘राम्रो क्रिकेट खेल्न कमभन्दा कम गल्ती गर्नुपर्छ । भोलिको खेलमा हामी त्यही गल्ती कम गर्ने प्रयास हुनेछौं । ब्याटिङमा पछिल्ला दुई खेलको लय निरन्तरता दिने प्रयास गर्नेछौं । बलिङका लागि विशेष योजना बनाउनुपर्छ ।
विपक्षी ब्याट्सम्यान हेरेर बलर प्रयोग गर्नेछौं ।’
चितवनका कप्तान पारस भने टिमको अहिलेसम्मको प्रदर्शनबाट सन्तुष्ट हुने ठाउँ रहे पनि फाइनलमा विपक्षीलाई कमजोर रूपमा लिन नहुनेमा दृढ छन् । ‘हामीले पछिल्ला ५ खेलमा निकै राम्रो क्रिकेट खेल्यौं । विपक्षीलाई अवसर दिएनौं । सबैले आ–आफ्नो जिम्मेवारीअनुसार खेलेका थिए । हिजो के भयो भन्दा पनि भोलि के गर्ने भन्नेमा चिन्तित हुनुपर्छ । लिग चरणमा हामीलाई विराटनगरले नै कठिन पारेको थियो,’ कप्तान पारसले थपे, ‘विराटनगर टाइटन्स फाइनलमा किन छ भने उनीहरूले राम्रो र सकारात्मक क्रिकेट खेलिरहेका छन् । हामीले पनि त्यस्तै खेलेका छौं । त्यसैले फाइनलमा छौं । यसको अर्थ दुवै टिमको सम्भावना बराबर छ ।’
लिग चरणमा चितवनले विराटनगरलाई १८ रनले पराजित गरेको थियो । चितवनले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका लोकेश बमले ६१ रनको सानदार इनिङ्स खेलेका थिए । जसको इनिङ्स विपक्षी कप्तानले पारसले पनि तारिफ गरे ।
‘दुवै टिममा म्याच फिनिसरहरू छन् । सबैले आफ्नो जिम्मेवारी सही ढंगले बहन गरेर खेल्नुपर्छ । क्रिकेटमा एकजनाले नै खेलको नतिजा फरक पारेका धेरै उदाहरण छन् । हामी ढुक्क छैनौं, किनभने दुवै टिम उत्कृष्ट छन् र दुवैले जुनसुकै बेला एकअर्कालाई हराउन सक्ने सामर्थ्य राख्छन्,’ पारसले थपे । अपराजित नतिजा निकाल्ने क्रममा चितवनका शीर्षक्रमका ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय छ । उनीहरूको मध्यक्रम परीक्षण भइसकेको छैन । कप्तान पारसले टिमका सबै खेलाडीले आफ्नो जिम्मेवारी लिएमात्र सफलता हासिल गर्न सकिने बताए ।
‘टिमका सबै खेलाडीले आफ्नो जिम्मेवारी लिनुपर्छ । ब्याट, बल र फिल्डमा समग्र राम्रो भएमात्र राम्रो नतिजा आउने हो । रन स्कोर र जितको हिसाबमा हामी अलिकति माथि छौं । भोलि पनि त्यस्तै होस् । टप वा मिडिलअर्डर भन्ने हुँदैन । किनभने सबै खेलाडीलाई जे जिम्मेवारी दिइएको हो त्यो पूरा गर्ने हो,’ कप्तान पारसले भने, ‘अघिल्लो संस्करणमा हामी फाइनलमा हारेका कारण हामी अहिले उपाधि जित्न चाहन्छौं । तर सजिलो चाहिँ हुने छैन । विराटनगरले निकै राम्रो क्रिकेट खेलेको छ । क्रिकेट भनेको यस्तो खेल हो कि पेपरमा भन्दा पनि मैदानमा तपाईले गर्ने प्रदर्शनबाट नतिजामा असर पर्छ ।’

खेलकुद

आर्मी र एपीएफ एकै समूहमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लब मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगिता (एमएम कप) मा एउटै समूहमा परेका छन् । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको सम्झनामा इनरुवा नगरपालिका र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ को संयुक्त आयोजनामा पुस १५ देखि माघ ४ सम्म प्रतियोगिता हुँदै छ ।
आयोजकले शुक्रबार प्रकासित गरेको खेलतालिकाअनुसार आर्मी र एपीएफसँगै समूह ‘ए’ मा घरेलु इनरुवाको एमएमसीसी टोली रहने छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र प्रदेश २, समूह ‘सी’ मा प्रदेश १, ३ र ५ तथा समूह ‘डी’ मा सुदूरपश्चिम, मलेसिया ११ र गण्डकी प्रदेश छन् । सेमिफाइनल माघ १ र २ तथा फाइनल माघ ४ मा हुने कार्यक्रम छ ।
पुस १५ मा उद्घाटन भएपछि त्यसको पर्सिपल्ट प्रदेश १ र ५ का बीच प्रतिस्पर्धा हुनेछ । तीन विभाग, सातै प्रदेश, मलेसिया ११ सहित १२ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले ४ लाख ५ हजार, उपविजेताले २ लाख ५ हजार तथा सेमिफाइनल पुग्ने टोलीले जनही ६० हजार रुपैयाँ पाउने छन् । म्यान अफ द सिरिजलाई ५५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई ३ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।

खेलकुद

लिभरपुलको फराकिलो अग्रता

- एएफपी
जेम्स मिल्नरले दोस्रो गोल गरेपछि खुसीमा लिभरपुलका खेलाडी । तस्बिर ः रोयटर्स/कान्तिपुर

 

लन्डन – लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आफ्नो अग्रता बिहीबार १३ अंक पुर्‍याएको छ । यसका लागि बक्सिङ डेको खेलमा लेस्टरलाई ४–० ले सजिलै हरायो । त्यसै दिनका अरु खेलबाट म्यानचेस्टर युनाइटेड र टोटेनहमले चौथोमा रहेको चेल्सीसँगको दूरी छोट्याएका छन् । आर्सनल व्यवस्थापकका रूपमा मिखेल आर्टेटाको सुरुआत सुखद रहेन । टोली बर्नमाउथमा १–१ को बराबरीमा खेल्न बाध्य रह्यो ।
कार्लो एन्सेलोट्टीले भने एभरटनका लागि सुखद सुरुआत लिएको छ । डोमिनिच क्लेभर्ट लेविनको उत्कृष्ट डाइभिङ हेडर मदतमा एभरटनले बर्नलीलाई १–० ले हरायो । आइतबार मात्रै फ्रान्क लाम्पार्डले आफ्नो पुराना गुरु जोसे मोउरिन्होको टोटेनहमविरुद्ध जित रचेका थिए । तर यसपल्ट चेल्सी आफ्नै घरमा पुछारतिर रहेको साउथह्याम्पटनसँग २–० ले पराजित भएपछि भने शीर्ष चारमा क्लबको अग्रता ३ अंकमै झरेको छ ।
ह्यारी केन र डेल अलीले गोल गरेपछि टोटेनहमले पछाडि रहेको स्थिति उल्टाएर ब्राइटनलाई २–१ ले हराएको थियो । म्यानचेस्टर युनाइटेडले भने एन्टोनी मार्सलको दुई गोल मदतमा न्युकासललाई ४–१ ले हरायो । दिनको सबैभन्दा ठूलो विजेता भने लिभरपुल नै रह्यो । भर्खरै क्लब विश्व्कप जितेको लिभरपुल दोस्रो स्थानमा रहेको लेस्टरको घरमा भ्रमण निस्केको थियो । यसैक्रममा लिभरपुलले आफू किन बलियो छ भनेर प्रमाणित गर्न खोज्यो ।
‘हाम्रा लागि केही सुखद खेलमध्ये यो पनि रह्यो,’ लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरले खेलपछि प्रतिक्रिया दिए, ‘हामी लिगको ठीक मध्यभागमा पुगेका छौं । बाँकी समय लिगमा अझै धेरै परिवर्तन आउनसक्छ । खाली हामी यतिमात्र दाबी गर्न सक्छौं कि प्रत्येक खेलमा हामी बलियो चुनौती पेस गर्न सक्षम छौं ।’
लिभरपुलको प्रभुत्व रहेको पहिलो हाफमा रोबर्टो फिर्मिनोले हेडबाट पहिलो गोल गरे । दोस्रो हाफमा लिभरपुलले सात मिनेटको अन्तरमा ३ गोल गरेको थियो । मिल्नरले पेनाल्टीबाट अग्रता दोब्बर गरे भने फिर्मिनोले खेललाई ३–० को स्थितिमा पुर्‍याए । सुरुआती तीनै खेलमा भूमिका खेलेका ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शन मदतमा चौथो गोल थपे । ‘हामीले लिगका पछिल्ला दुई खेलमा लिग इतिहासकै सबैभन्दा बलिया टिमसँग खेल्यौं र दुवैमा पराजित रह्यौं,’ लेस्टर व्यवस्थापक ब्रेन्डन रोजर्सले भने । शनिबारमात्र लेस्टर म्यानचेस्टर सिटीसँग पराजित रहेको थियो ।
चेल्सीले भने साउथह्याम्पटनविरुद्ध घरमै दबाबमा खेल्यो र राम्रो गर्न सकेन । हारपछि निरास लाम्पार्डले भने, ‘हाम्रो खेललाई लिएर धेरै प्रश्न उठेका छन्, विशेषतः घरमै हुने खेलमा । अहिले हामी ती सबैको उत्तर दिनसक्ने हैसियतमा छैनौं ।’
बराबरीमा पनि आर्सनल व्यवस्थापक आर्टेटाले सकारात्मक जवाफ दिए । उनले भने, ‘टिमको प्रदर्शनमा म उत्साही छ । म चाहन्छु हाम्रा खेलाडीले यस्तै शक्ति र गतिमा खेलोस् ।’

खेलकुद

धादिङका पदक विजेतालाई सम्मान

- कान्तिपुर संवाददाता

धादिङ (कास)– धादिङबाट १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जितेका ९ खेलाडीलाई शुक्रबार जिल्ला सदरमुकाममा सम्मान गरिएको छ ।
राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङले शुक्रबार धादिङबेसीमा उनीहरूलाई सम्मान गरेको हो । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सम्मान गरे ।
सागमा ज्वालामुखी गाउँपालिकाकी सन्तोषी श्रेष्ठले १० हजार मिटर दौड (एथलेटिक्स), सिद्धलेक गाउँपालिकाकी सोनी गुरुङले ट्रायथलन र त्रिपुरासुन्दरी गाउँपालिकाकी सन्जिला तिमल्सिनाले तेक्वान्दोको पुम्से (१७–२३ वर्ष उमेर समूह) मा स्वर्ण पदक जितेका थिए ।
रजत पदक जित्नेमा ज्वालामुखी गाउँपालिकाका आशिष दुवाडी (बक्सिङ, ९१ केजी तौलसमूह), नेत्रावती डब्जोङ गाउँपालिकाका गणेश प्रधान (बक्सिङ, ८१ केजी तौल) र गल्छी गाउँपालिकाका लक्ष्मण मल्ल (ट्रायथलन, दुवाथलन) छन् । कांस्य जित्नेमा गंगाजमुना गाउँपालिकाका दीपक अधिकारी (१० हजार मिटर दौड), गंगाजमुनाकै हरि रिमाल (एथलेटिक्स, ५ हजार मिटर दौड) र त्रिपुरासुन्दरी गाउँपालिकाका पवन श्रेष्ठ (जुडो, ९० केजी) छन् ।
धादिङ जिल्लाबाट सहभागी ११ खेलाडीमध्ये तीनले स्वर्ण, तीनले रजत र तीनले कांस्य पदक जितेका थिए । विजेता खेलाडीले जिल्लाको मात्र नभई राष्ट्रकै गौरव बढाउन सफल भएको भन्दै खेलाडीको सम्मान गरिएको आयोजक संघका अध्यक्ष अमृत तामाङले बताए ।

खेलकुद

एक्सेल्सियरलाई दोहोरो उपाधि

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– आयोजक द एक्सेल्सियर स्कुलले आठौं एक्सेल्सियर कपअन्तर्गत फुटबलमा दोहोरो उपाधि जितेको छ । शुक्रबार एक्सेल्सियर ब्वाइज/गर्ल्सको यू–१६ उमेर समूहमा च्याम्पियन भयो । यू–१२ ब्वाइजमा फाइनल पुगे पनि एक्सेल्सियर किड्स लर्निङसँग पराजित भयो । घरेलु मैदानमा यू–१६ फाइनलमा एक्सेल्सियरले महामञ्जुश्रीलाई १–० गोलले हरायो । धिरज जोशीले विजयी गोल गरे । गर्ल्सतर्फ एक्सेल्सियर (तस्बिरमा) ले ग्यालेक्सीलाई १–० ले पराजित गर्दा एफ्रोजा श्रेष्ठले गोल गरिन् । यू–१२ मा किड्स लर्निङले ५–० ले जित पाउँदा लर्निङका कुलदेव तितुङले ह्याट्रिक र युकेश नेगीले २ गोल गरे । यू–१२ मा जोएल लामा, यु–१६ मा श्रीदिना अधिकारी र धिरज जोशी उत्कृष्ट खेलाडी घोषित भए । सबै एक्सेल्सियरका हुन् । किड्स लर्निङका संकल्प विष्ट, एक्सेल्सियरका दिपिना लामा र दिपायन पोखरेल उत्कृष्ट
गोलरक्षक चुनिए ।

खेलकुद

विनायक च्याम्पियन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– विनायकले पाँचौं नेफ–साइपाल अन्तरस्कुल छात्र फुटबलको उपाधि शुक्रबार जितेको छ । उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित स्पर्धाको फाइनलमा विनायकले हिमरश्मीलाई १–० गोलले हरायो । प्रणव कोइरालाले गोल गरे । कौस्तुभले पशुपतिलाई ३–० ले हराएर तेस्रो स्थान हात पार्‍यो । विनायकका सतिश थापा उत्कृष्ट खेलाडी, हिमरश्मीका ईश्वर गुरुङ उत्कृष्ट गोलरक्षक र कौस्तुभका विवस मगर उत्कृष्ट स्ट्राइकर घोषित भए । प्रतियोगिताका २० उत्कृष्ट खेलाडीलाई साइपाल एकेडेमीले प्लस टु अध्ययनका लागि ६० हजारबराबरको छात्रवृत्ति प्रदान गरेको छ । 

खेलकुद

टेनिस टिम कतार जाने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कतार एसियाली यु–१४ जुनियर टिम कपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टेनिस टोली शनिबार कतार जाने भएको छ । सोमबारदेखि हुने प्रतियोगितामा निहालजंग थापा र प्रसिद्ध मोक्तानले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा कृष्णराज घले छन् । 

खेलकुद

ज्ञान निकेतन विजयी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ज्ञान निकेतन शुक्रबार चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा सेमिफाइनल पुगेको छ । ज्ञानले जेभियर कलेजलाई ६२–६१ स्कोरले पराजित गर्‍यो । मनीष तामाङले १७ स्कोर जोडे । 

खेलकुद

चार टोली विजयी

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– दोस्रो संस्करणको बीपी कप फुटबलमा शुक्रबार चार टोली विजयी भएका छन् । हेटौंडा उपमहानगरपालिकाका टोलीहरू हाबी देखिएका छन् । हेटौंडा–२, ७, १९ र ८ वडा विजयी हुँदै दोस्रो चरण पुगेका छन् । हेटौंडा–२ ले भीमफेदी गाउँपालिकालाई १–०, हेटौंडा–७ ले १४ लाई २–०, हेटौंडा–९ ले १९ लाई १–० र हेटौंडा ८ ले १५ वडालाई १–० गोलले हराए ।

Page 16
खेलकुद

कप्तान, कमब्याक र बर्थ–डे

पुलिस क्लबका रविन श्रेष्ठ शारीरिक रूपमा लिखुरे देखिए पनि मानसिक तबरले भने निकै बलिया अनि आत्मविश्वासी छन् ।
- राजु घिसिङ

(काठमाडौं) - झट्ट हेर्दा निकै लिखुरे देखिन्छन् रविन श्रेष्ठ । मैदानमा उस्तै देख्ने भइहाल्यो । फुटबलमा शारीरिक प्रतिस्पर्धा पनि गर्नुपर्ने अवस्थामा मैदानबाहिर हेर्दा उनलाई राम्रो खेल्छन् भनेर पत्याइहाल्न गाह्रै लाग्छ । तर, यिनै लिखुरे ज्यानले साफ च्याम्पियनसिप २०१३ मा आकर्षक खेल देखाएका थिए । उनको दौडाइको गति र लेफ्ट–ब्याकबाट अगाडि बढेर गर्ने क्रस लोभलाग्दो हुन्थ्यो । त्यतिबेला नेपाली टिम दशरथ रंगशालामा सेमिफाइनलमा अफगानिस्तानसँग हारेको थियो । त्यो साफमा घरेलु टिमकै उत्कृष्ट खेलाडीको मोटरसाइकल पुरस्कार यिनै रविनले पाएका थिए ।
नेपाली राष्ट्रिय टिमले २३ वर्षपछि पहिलो उपाधिको रूपमा बंगबन्धु गोल्डकप २०१६ जितेको थियो । त्यही वर्ष हालसम्मकै सबैभन्दा ठूलो उपलब्धिको रूपमा एएफसी सोलिडारिटी कप पनि जित्यो । दुवै उपाधि यात्रामा नेपाली टिमको लेफ्ट–ब्याकमा थिए रविन । त्यसयता भने उनको करिअरमा ठूलै उतारचढाव आयो ।
सोलिडारिटी कप विजेताको हैसियतमा नेपालले एसियन कप २०१९ को छनोट खेल्ने मौका पाएको थियो । पहिलो खेल थियो फिलिपिन्सविरुद्ध मनिलामा । मार्च २८, २०१७ को त्यो खेल फिलिपिन्सले ४–१ ले जित्यो । रविनकै क्रसमा विशाल राईले गोल गरेका थिए । तर खेल सकिन करिब चार मिनेट बाँकी छँदै रविन दाहिने घुँडामा चोट लागेपछि मैदान छाड्न बाध्य भए । फर्केर ग्रान्डी अस्पतालमा एसीएलको शल्यक्रिया गराए । ९ महिना फुटबलबाट टाढै रहे ।
पुलिस क्लबका यी खेलाडी शारीरिक रूपमा लिखुरे देखिए पनि मानसिक तबरले भने निकै बलिया छन् । आत्मविश्वासी छन् । त्यसैले शल्यक्रियाको ९ महिनापछि प्रतियोगितामा पुनरागमन गरे । राम्रै लयमा फर्किए । जापानी प्रशिक्षक ग्योतोकु कोजीले उनलाई राष्ट्रिय टिमको ‘क्याम्प’ मा बोलाए । एसियाली खेलकुद २०१८ र साफ च्याम्पियनसिप २०१८ को तयारीमा यू–२३ र सिनियरको मिश्रित टिम मैत्रीपूर्ण खेलको लागि बैंकक गयो । पहिलो खेलमा टेरो एफसीसँग १–० ले हार्‍यो । अर्को खेल थियो थाइल्यान्डको यू–२३ टिमविरुद्ध । अगस्ट १०, २०१८ को त्यो खेल नेपालले ४–० ले गुमायो ।
बैंककमा दोस्रो खेलमा मौका पाएका रविनले थामासाट विश्वविद्यालयको मैदानमा २० मिनेटमै छाड्नुपर्‍यो । फेरि त्यही दाहिने घुँडामा चोट लाग्यो । एसीएलमै । उनलाई त्यो खेलमा के भयो भन्ने पनि सम्झना छैन । यति मात्रै याद छ कि ‘टर्न गर्दा ट्विस्ट’ भएको थियो । बल्ल त्यो (पुरानो)) चोटबाट मुक्ति पाएका उनको राष्ट्रिय टिममा पुनरागमन गर्ने जोस अब आशामा बदलियो । उनीसँगै प्रशिक्षक नवीन महर्जनले खेलाडीको उपचारका लागि विश्वमै चर्चित रहेको अस्पेटर, दोहामा उपचार गर्ने अवसर पाए ।
रविनको त्यही घुँडा उस्तै चोटको दोस्रो शल्यक्रिया जनवरी २९, २०१८ मा भयो । एक महिना अस्पतालमै बिताए । फर्केर पछि पुनर्स्थापना (रिह्याब) को लागि करिब दुई महिना अस्पेटरमै बसे । त्यहीं बलसँगै अभ्यास पनि सुरु गरे । फर्केर तयारीलाई तीव्र बनाए । एक महिनायता पुलिस क्लबमा टिमसँगै ट्रेनिङ गरेका उनी १७ महिनापछि प्रतिस्पर्धामा फर्किएका छन् । उनको दोस्रो ‘कमब्याक’ को खेल रह्यो सरस्वती युवा क्लबविरुद्ध । दशरथ रंगशालामा शुक्रबारको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उक्त खेल पुलिसले २–० ले जित्यो ।
रोहितको प्रभाव
एन्फा एकेडेमीमा छँदा रविनभन्दा एक ब्याच जुनियर हुन् रोहित चन्द । रोहित एसीएलकै शल्यक्रियापछि करिअरकै उत्कृष्ट लयमा छन् । केही खेलाडीको भने यस्तो किसिमको चोटपछि करिअर नै समाप्त भएको पनि छ ।
‘एसीएलको उपचार पहिला ओपन सर्जरीबाटै हुन्थ्यो । रिकोभरी त्यति थिएन । गाह्रो हुन्थ्यो । माइकल ओवेन (लिभरपुल र इंग्ल्यान्डका पूर्व फरवार्ड) ले खेल नै छाड्नुपर्‍यो,’ रविनले भने, ‘अहिले आधुनिक प्रविधिले धेरै सजिलो बनाएको छ । त्यस्तो गाह्रो छैन । बाहिर (विदेश) ३ महिना, ६ महिनामै खेलाडीले कमब्याक गर्छन् । नेपालकै राम्रो खेलाडीमध्ये एक रोहितलाई हेरें । उसले कमब्याक गर्नसक्छ भने म किन सक्दिनँ भन्ने लाग्यो । उनी मिल्ने साथी र भाइ पनि हुन् । इन्डोनेसियामै रहे पनि रोहितले मलाई कमब्याक गर्न धेरै सहयोग गरे ।’ इन्डोनेसियन लिग वानको सिजन सकाएर दुई दिनअघि स्वदेश फर्किएका रोहत पनि रविनको पुनरागमनको खेल हेर्न त्रिपुरेश्वर आइपुगेका थिए ।
दुईपल्टको चोटमा मैदानबाहिरै रहँदा रविन क्लब र राष्ट्रिय टिमका खेलमा सकेसम्म प्रत्यक्षदर्शी हुन्थे भने त्यो सम्भव नहुँदा टेलिभिजन/युट्युबमा हेर्थे । ती मन बिझाउने क्षणबारे उनी बोले, ‘खेल्ने मान्छे भएपछि खेल्न नपाउँदा दुखभन्दा बढी छट्पटाहट हुँदोरहेछ । के नभए, के नभएजस्तो । बिहान उठेदेखि सुतुन्जेलसम्म फुटबल भनेर हिँड्ने मान्छे केही नभएपछि मन अलि आतिन्थ्यो ।’
उनको ज्यान जति लिखुरे छ, ठीक विपरीत मुटु भने बलियो छ । अर्थात् मानसिक रूपमा बलिया छन् । ‘गाह्रो कहिले महसुस भएन । गाह्रो मानिनँ । गाह्रो मानेको भए यसरी कमब्याक गर्थिनँ होला,’ मलिन स्वरमा उनी बोले, ‘मिहिनेत गरें, जारी छ, अझै राम्रो गर्न प्रयास गर्नेछु । अझै राम्रो भएर आउने छु ।’ पुलिससँग दुईपल्ट ए डिभजिन लिग र एकपल्ट राष्ट्रिय लिग जितेका उनले थपे, ‘मिहिनेत नगरी क्लबको टिममा पर्न सम्भव छैन, राष्ट्रिय टिमको कुरा त पछिको हो । राष्ट्रिय टिममा कमब्याक गर्न एकदमै मन छ । कमब्याक गरेपछि अगाडि सोच्न मन छ ।’

पहिलो जित
यो लिगको तेस्रो खेलमा आएर पुलिसले पहिलो जित रचेको हो । त्यो पनि रविनको पुनरामगन र कप्तानीमा । उनको खुसी यत्तिमै सीमित छैन । जन्मदिन पनि हो उनको । ‘वर्थ–डे, कमब्याक र कप्तानी जित’ लाई लिएर ३० वर्षीय रविन भावुक भए, ‘एउटा खेलाडीका लागि त्योभन्दा बढी (पुनरागमन) के नै हुन्छ र १ त्यही पनि लिगजस्तो महत्त्वपूर्ण प्रतियोगितामा ३ अंक पाएका छौं । एकदमै खुसी छु ।’ उनको यी तीन पक्षको खुसीमा बुवा, पत्नी, छोरी र आफन्तहरू साक्षी बन्न शुक्रबार रंगशालाको प्यारापिटमा आइपुगेका थिए ।
यो चिसो मौसममा बर्थ–डे परिवारलाई रंगशालाबाहिर पर्खाएर नबलेको फ्लडलाइटमुनि उभिएका रविनले भने, ‘कमब्याक गर्दिनँ भन्ने कहिल्यै लागेन । त्यस्तो महसुस नै भएन । पहिला पनि चाँडै खेलौंजस्तो भएको थियो । यसपालि विश्वकै उत्कृष्ट हस्पिटलमा उपचार गर्ने मौका पाएँ, रिकोभरी गर्न पाएँ । त्यसैले कन्फिडेन्ट भएँ । पहिलाभन्दा बढी कन्फिडेन्ट ।’ लिगको अघिल्ला दुई खेलमा पुलिसको लेफ्ट–ब्याकमा प्रवेश दनुवार खेलेका थिए । राइट–ब्याक सन्तोष हेमरन घाइते भएपछि प्रवेशलाई अर्को साइडमा खेलाउँदै प्रशिक्षक अनन्तराज थापाले लेफ्ट–ब्याकमा रविन उतारेका हुन् । ‘रविनले ट्रेनिङमा मिहिनेत गरिरहेका थिए । तर, सुरुका दुई खेलमा चुनौती लिइनँ,’ प्रशिक्षक थापाले भने, ‘आज उनको ठाउँबाट त्यति गल्ती भएको छैन । अझै मिहिनेत गर्नुपर्नेछ ।’
पुलिसको पहिलो खेलमा जुमनु राई र दोस्रोमा नीरकुमार राईले कप्तानी गरेका थिए । तेस्रो चरणमा ‘आर्मब्यान्ड’ रविनलाई दिइएकोबारे उनले भने, ‘विभागीय टिममा वरिष्ठताको कुरा आउँछ । प्रोटोकल मिलाउँदा कप्तान परिवर्तन भइरहन्छ । मलाई लाग्छ टिममा सबै खेलाडी कप्तान हुन् । सबैले कप्तान भएको महसुस गरे टिम स्पिरिट राम्रो हुन्छ ।’ प्रहरीका असई रविन यसअघि पनि थुप्रै खेलमा टिमका कप्तान भइसकेका छन् ।

खेलकुद

मस्तीको स्वर्ण

- विनोद पाण्डे

(काठमाडौं) - विप्लवलाल श्रेष्ठ सातामा एक दिन स्कुल पुगेर विद्यार्थीलाई कराते सिकाउँछन् । शुक्रबार उनको यही दैनिकी थियो । उनी आफू आबद्ध आइजे पायोनियर स्कुलमा गएर सिकाउनुपर्थ्यो । एक महिना बितेको छैन यी युवा खेलाडीले घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेबाट स्वर्ण जितेको ।
स्कुल पुग्दा आफूले स्वर्ण जितेको बारे धेरै बेखबर जस्तै थिए । स्कुलमा पढाउने धेरै शिक्षकहरू विप्लवको स्वर्णबारे जानकार थिएनन् । उनको सफलताबारे स्कुलमा धेरैले शुक्रबार (हिजो) मात्रै थाहा पाएका थिए । अब भने स्कुलले उनको स्वर्ण पदकको बहादुरीमा सम्मान गर्ने कार्यक्रम बनाइरहेको छ ।
विप्लव खासमा सागको सफलताले ‘सेलिब्रेटी’ भइन्छ कि भन्नेमा थिए । तर अझै खेलकुद धेरैको पहिलो प्राथमिकतामा नरहेको पाए । सानोतिनो सम्मान र बधाईको ओइरो पाइरहेका छन् । उनले भने त्यो भन्दा ठूलै सोचेका थिए । त्यसैले होला सागपछि पनि जुन रौनक आउनुपर्ने हो त्यो उनले देखेका छैनन् । अनुभूति गर्न पाएका छैनन् ।
‘कतै केही प्रतिक्रिया आएको छैन, सागअघि सामान्य जीवन जसरी चलेको थियो, त्यस्तै चलिरहेछ,’ पुसको चिसोजस्तै सागपछिको माहोलले उनलाई आश्चर्य पारेको छ । लोकप्रियता बढ्ला, क्रमशः सम्मानका कार्यक्रम आउला भन्ने थियो उनलाई । त्यस्तो केही महसुस नै गर्न पाएनन् । स्वर्ण पदकले उनमा सोचेजस्तो केही परिवर्तन ल्याएको छैन । नेपालले १३ औं सागमा पदकको ओइरो लगाएकाले पनि पदक विजेताको सम्मानमा कमी आएको हुनसक्ने उनको आँकलन छ ।
जबकि १३ औं सागसम्म विप्लवको यात्रा आफैंमा अनौठो थियो । चैत–वैशाखमा नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदका विजेता खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा राखिएको थियो । विप्लवले भने आठौं राष्ट्रिय खेलकुद खेलेकै थिएनन् । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिप खेल्न गएका बेला उतै मस्ती गरिरहेका थिए । त्यही मस्ती उनको साग स्वर्ण यात्राको एउटा कारण बन्यो ।
अस्ट्रेलियन ओपनमा उनले ७४ केजी तौलमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता सकिएपछि उनी तीन महिना थप अस्ट्रेलियामै बसे । सिड्नी, क्यानबेरा सबैतिर घुमे । अस्ट्रेलियामा मस्तीका क्रममा कमाएको उनको तौल थियो । उनको ज्यान बढेर ८६ केजी पुगेको थियो । नेपाल फर्किएपछि उनमा खेल्न छाडेर व्यवसाय गर्छु भन्ने सोच थियो । अल्लारे निर्णयमा उनको खेल्ने मन मरिसकेको थियोभन्दा हुन्छ ।
विकास कार्की उनका मिल्ने साथी हुन् । दुवै एकअर्कालाई ‘राजा’ भनेर सम्बोधन गर्छन् । विप्लवलाई राष्ट्रिय खेलाडी हुनुको अर्थ विकासले बुझाइरहेका हुन्थे । त्यसैले विप्लवको मन बदलिएको थियो । उनमा फेरि कराते खेल्ने भोक जाग्न थाग्यो । सागका यसअघिका स्वर्णधारी विनोद शाक्यदेखि विनोद महर्जन, मीनकृष्ण महर्जनले विप्लवलाई हौसला भरिरहन्थे । उनलाई घरबाट करातेमा लाग्न ठूलै हौसला छ । आठौं साफमा करातेमा स्वर्ण जितेका सुरेन्द्रलाल श्रेष्ठ उनका काका हुन् । उनैले विप्लवलाई रंगशालाको केन्द्रीय डोजोसम्म पुर्‍याए । अनि दसौं सागका स्वर्ण विजेता विनोद शाक्यमार्फत प्रशिक्षण गराए । बुवा, आमा, दिदीहरू पनि उनले कराते खेलेकामा रमाउँछन् ।
आठौं राष्ट्रिय नखेलेकाले उनलाई सागमा नेपाली टोलीमा पर्छु भन्ने मनमै लागेको थिएन । तर करातेमा धेरै विवाद हुने भएकाले छनोटका लागि एउटा मौका आउँछ भन्ने उनलाई भित्रैदेखि लागिरहेको थियो । आखिर त्यो मौका आयो । अर्थात उनले सागमा नेपाली टोलीमा पर्न छनोट खेल्न पाउने भए । अस्ट्रेलियामा फर्मबाहिर रहेकाले उनी लयमै थिएनन् । त्यहाँबाट फर्केपछि व्यक्तिगत प्रशिक्षण भने गरिरहेका थिए ।
नेपाली राष्ट्रिय कराते टोलीका अर्का खेलाडी दिवस श्रेष्ठ र विप्लवको एउटै तौल समूह थियो । यी दुईबीचमा भद्र सहमति थियो । एउटा माथिल्लो तौल र अर्को त्यही तौल समूहबाट खेल्ने । अस्ट्रेलियाको मस्तीले गर्दा विप्लव यसपल्ट तौल घटाएर खेल्ने स्थितिमा थिएनन् । उनले ८४ केजीमाथि अर्थात हेभीवेटमा खेल्नुपर्ने भयो । प्रतिभावन खेलाडीका लागि मौका भनेर आठौं राष्ट्रिय खेलकुद नखेलेका खेलाडीलाई छनोटको अवसर दिइएको थियो ।
विप्लव नेपाल पुलिस क्लबबाट खेल्छन् । उनले फाइनलमा आर्मीका खेलाडीलाई हराएर सागमा छनोट भए । उनीसँगै १६ खेलाडी छनोट भएपछि सागको बन्द प्रशिक्षणका लागि नेपाली खेलाडीसंख्या १ सय २ पुगेको थियो । बन्द प्रशिक्षणको बिहान र बेलुकी २–२ घण्टाको अभ्यासले विप्लवलाई लयमा ल्याइसकेको थियो । सागको क्याम्प सुरु भए पनि अरु धेरै खेलजस्तै कराते टोली पनि अन्योलमा थियो । खेल सामग्री आइपुगेको थिएन, साग हुने नहुने अन्योल थियो । करातेको प्रशिक्षक विवाद उत्कर्षमा थियो । अन्य खेलाडी यस्तै विषयमा कानेखुसी हुने गरेको विप्लव स्मरण गर्छन् ।
खेलाडीलाई राम्रोसँग निखार्ने कार्य नेपाली प्रशिक्षकले नै गरेको उनी जनाउँछन् । निकै उपयोगी मानिएको डाइट, न्युट्रिसियन नेपाली टोलीसँग थिएन । ‘बिहान र बेलुकै दालरोटी खाएर ज्यान घटाउने पनि हाम्रो टोलीमा थिए,’ उनी नेपालको कमजोर पक्ष उप्काउँछन् ।
कराते टोलीलाई १० दिन मलेसियामा सागको बन्द प्रशिक्षणमा राखिएको थियो । त्यसपछि बंगलादेशमा दक्षिण एसियाली कराते च्याम्पियनसिप खेल्न गयो नेपाली टोली । १३ औं सागको स्वर्ण पदकको संकेत विप्लवले त्यहींबाट दिएका थिए । भारत नभएकाले नेपालले १३ औं सागमा स्वर्ण पदकको ओइरो लगाएको आरोपहरू आइरहेका छन् । बंगलादेशमा विप्लवले पहिलो खेलमै भारतीय खेलाडीलाई ढालेका थिए । उनलाई नेपाली टोलीले स्पष्ट भनेको थियो, ‘भारतलाई हराऊ, स्वर्ण तिम्रै हुनेछ ।’ भयो पनि त्यस्तै । उनले फाइनलमा पराजित गर्न बंगलादेशी खेलाडीलाई खासै गाह्रो भएन ।
१३ औं सागअघि बंगलादेशको सफलताले उनको मनोबल उच्च बनाएको थियो । सागमा पहिलो खेलमा उनले श्रीलंकाका म्यागोना विमलासिरीलाई टेक्निकलका आधारमा पराजित गरे । विप्लवका अगाडि श्रीलंकाली प्रतिद्वन्द्वी १ मिनेट १० सेकेन्ड पनि टिक्न सकेनन् । ८–० ले खेल जिते । पाकिस्तानबाट सागमा नेपालले करातेमा निकै ठूलो चुनौती पाउने अनुमान गरिएकै थियो । विप्लवले त्यो फाइनलमा भोगे । विप्लव पाकिस्तानी खेलाडी मोहम्मद बाजसँग ०–२ ले पछाडि परिसकेका थिए ।
अर्को एकपटक ३–४ ले पछाडि परे । दुवै पटक उनले बाजारी प्रहार गर्दै २–२ अंक जोडेर खेल ६–५ ले आफ्नो पक्षमा पल्टाएका थिए । सागमा उनको बाजारी किक राम्रैसँग चल्नु एउटा संयोग बन्यो । सेमिफाइनलमा पनि उनले यही हानेका थिए । उनको विशेषता ग्याकुचुकी (पञ्चले हान्ने) हो । कुरेर खेल्ने उनको शैली छ । यो पनि चल्यो तर बाजारीले स्कोर बढाइदियो । यसले उनलाई आफ्नो खेलमा एउटा नयाँ आयाम दिएजस्तो लाग्छ । उनको खेलमा नयाँ टेक्निकको विकास भएको उनी मान्छन् ।
सागलगत्तै सरकारले स्वर्ण विजेतालाई ९ लाख रुपैयाँ दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिसकेका छन् । त्यो रकम विजेताहरूले अझै पाएका छैनन् । अहिलेसम्म आफूले अरु काम केही नगरेकाले त्यो रकम घरमा दिने उनको योजना छ । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका आएमा त्यो रकम त्यसमा खर्च गरेर खेल्न जाने उनको अर्को योजना पनि छ ।
विप्लवलाई उछिन्न सकेको भए पाकिस्तानी खेलाडी बाजले साग स्वर्णमा ह्याट्रिक गर्नेथिए । विप्लवले उनको अविजित यात्रामा ब्रेक लगाइदिए । विप्लवको टेक्निकमा उनको केही चलेन । ‘मेरो उमेर छ, साग निरन्तर भयो भने ह्याट्रिक स्वर्ण जित्ने मेरो पनि सुर छ,’ उनमा पनि नेपालबाट सागमा तीन वा सो भन्दा बढी स्वर्ण जितेका दीपक विष्ट, गौरिका सिंह, वैकुण्ठ मानन्धर, आयशा शाक्य जस्तै महान् खेलाडीको सूचीमा उभिने भोक छ । त्यसपछि आफू पनि ‘सेलिब्रेटी’ बन्ने उनको धोको छ ।

खेलकुद

सरस्वतीको तेस्रो हार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पुलिसले पहिलो हाफको इन्ज्युरी समयमै डिफेन्डर अन्जन राईले दोस्रो पहेँलो कार्ड बेहोर्दै मैदान छाडे पनि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार सरस्वतीलाई २–० ले पराजित गरेको छ । दशरथ रंगशालामा दुवै गोल दोस्रो हाफमा भयो ।
म्यान अफ द म्याच घोषित सुमन लामाले ४६ औं मिनेटमा पुलिसलाई अग्रता दिलाए । सब्स्टिच्युट भोलानाथ सिलवालले ७९ औं मिनेटमा २–० ले अगाडि बढाउँदै पुलिसको यो लिगमा पहिलो जित पक्का गरेका थिए । यसपालि तेस्रो चरणमा आइपुग्दा सरस्वती र फ्रेन्ड्स तीनै क्लब हार्ने क्लब भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–० ले हरायो । आर्मीका कप्तान भरत खवासले ५७ औं र टेकबहादुर बुढाथोकीले ६१ औं मिनेटमा गोल गरे । आर्मी र पुलिसले तीन खेलबाट ४–४ अंक जोडेका छन् ।

खेलकुद

रेडिअन्ट च्याम्पियन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– आठौं एक्सेल्सियर कपको बास्केटबल सिनियर ब्वाइजमा रेडिअन्ट, गर्ल्समा स्वर्णिम र जुनियर ब्वाइजमा सेब स्कुल च्याम्पियन भएका छन् । फाइनलमा रेडिअन्टले न्यु जेनिथलाई ६१–५० स्कोरले हराएर उपाधि रक्षा गर्‍यो । रेडिअन्टका उपेन्द्र बस्नेतले २९ स्कोर जोडे । गर्ल्समा स्वर्णिमले सिद्धार्थ वनस्थलीलाई ३६–१८ ले पन्छाउँदै उपाधि जित्यो । स्वर्णिमकी मोहिनी लोप्चनले २० स्कोर गरिन् । जुनियर ब्वाइजमा सेबले सेब र महामञ्जुश्रीविरुद्ध २६–१९ को जित पायो । सेबका कुमार तामाङले ९ स्कोर जोडे । फाइनलका सर्वाधिक स्कोरकर्तात्रय उपेन्द्र, मोहिनी र कुमार आफ्नो विधामा मोस्ट भ्यालुएबल प्लेयर भए ।

Page 17
कोसेली

टार्गेट किमाथांका

- सरला गौतम

किमाथांकाबाट देखिएको अरूण नदी किनारमा रहेको चाइना चांगा बजार 

हिले बजारको एउटा घरको पिँढीमा थिएँ । सँगै बसेका एक युवकले हावामा हात फालेर भने, ‘आम्बो खाँदबारीको मान्छे त रुद्राक्षको बोटैमुनि सुत्छ रे त, चोर ढुकेर । चोरले त फूल देखेरै चिन्छ रे गेडाको क्वालिटी ।’ आडैमा बसेका युवकका बाबुले अगाडिको बाटो देखाउँदै भने, ‘आबो यो बाटो चाइनासम्मै पुग्नु आँटेको छ । त्यताको मान्छे त मालामाल होला ।’ मेरो मनले भन्यो, ‘आम्बो यो बाटो पछ्याउँदै चाइना पुग्न पाए !’
धूलाम्मे सडकको सप्पै धूलो ज्यानमा बोकेर म पुगें खाँदबारी, भोलिपल्टै । बजारमा डुलिहिँड्न थालेँ । चाइना छुने बाटो बन्दै गरेको बजारका मान्छेमा खाँदिएको थियो उत्साह । ‘संघीयताको कारण सदरमुकामको रौनक मुर्झायो,’ व्यापारीहरूले विरह पोखे । ‘यो बाटोले जब चाइना छुन्छ तब हेरौंला,’ उनीहरूको ताक अब अलि पर थियो ।
साँझपख म देवकोटा चोकमा पुगें । ५२ वर्षे कोपिला थुलुंगको अल्लो पसलमा । मानिसहरूले लुगा लगाउने सुरुआत नै अल्लोबाट भएको भन्ने जानकारी दिइन् कोपिलाले । उनको पूरै परिवारले कपडा बुन्यो । आफ्नो गाउँलाई पुर्‍यायो । अब उनले बुनेका कपडा देश–विदेश पुगेका छन् । ‘कोसी ल्हासा राजमार्ग,’ मेरो वाक्य नसकिँदै उनका आँखा नाचे । भनिन्, ‘चाइनाको सामान हाम्रो बजारमा छ्यापछ्याप पारेको छ । हाम्रो सामान पनि त्यसैगरी उनीहरूको बजारमा छ्यापछ्याप्ती पार्न पाए !’ आहा उनको कल्पना !
हिलेसम्म मात्रै मोटरबाटो हुँदा पनि खाँदबारीको व्यापार चकाचक थियो । वरिपरि सप्पै गाउँका मान्छे झोलीतुम्बा भिरेर, सामलतिमल जोहो गरी बजार गर्न आउँथे । साता–पन्ध्र दिनसम्मै बजार गरिहिँड्थे । यहाँका व्यापारीले आइडिया लगाए— तुम्लिङटारदेखि मानेभञ्ज्याङसम्मको बाटो त सीधै छ, यसलाई किन प्रयोग नगर्ने ! लोकल सडकको कल्पना उभियो । श्रमदानमा खटिए गाउँले । बाटो बन्यो । भरिया लगाएर हिलेबाट मिनिबस बोकाएर ल्याए । हेलिकप्टरबाट जिप झारे । तुम्लिङटारमा सामूहिक गोदाम राखे । प्याँ–प्याँ पुँ–पुँ गर्दै ठूल्ठूलो स्वरमा दुइटा मोटर दौडन थाले । दिनकै रमिता भयो । मानिसहरू झ्यालझ्यालबाट निस्केर मोटर हेर्न थाले । मालसामानका लागि लोकल ढुवानी गजब भइहाल्यो । उद्योग वाणिज्य संघ खाँदबारीका अध्यक्ष युवराज शाक्यल,े साउन्ड इफेक्टसहित मोटर महात्म्य सुनाएका थिए दिउँसो ।
चाइनातिर दाउ साँचेर बसेका व्यापारीहरूसँगको कुराकानी बिट मारेँ यत्तिमै । भोलिपल्ट म लागेँ बाटो । जिपको अघिल्लो सिटमा बसेर । हेर्दैहेर्दै झुलेका धानका बाला । खुलेको आकाश । भरेर पेट तातोतातो थुक्पाले । खाँदबारीबाट नुम गाउँसम्म ठीकैको थियो कच्ची बाटो । त्यसपछि त खेलाइहाल्यो पिङ । जिपका पांग्रासँग जोरी खोज्न आउने बडेमानको ढुंगाको के कुरा ! साँझमा नेता भीरमा पुग्यौं । मकालु गाउँपालिकाका अध्यक्ष यही भीरमा खसेर बितेका हुन् । जिप त थालजस्तो भएको थियो रे ! त्यसपछि भीरको नामै नेता भीर ।
एकै छिनअघि नुम गाउँमा जिप रोकिएको थियो । गाउँपालिका भवन छिरेकी थिएँ । भवन भव्य थियो । कर्मचारी एकै थिए । अध्यक्ष बितेकाले चुनाव हुँदै थियो । कुराकानीकै क्रममा गाउँपालिका कर्मचारी विपिन पराजुलीले बताएका थिए, बन्दै गरेको कोसी ल्हासा राजमार्गले बटुल्दै गरेको उत्साह । जिपमा अरुण तेस्रोका कर्मचारी र स्थानीय शिक्षकहरू थिए सहयात्री । दुर्घटनाको कथा कसैले सुनायो । नेता खसेको ठाउँ अर्कोले देखायो । चालक रिदार भोटेले भने, ‘भो म त हेर्दिनँ । मुटु काँप्छ । दिनकै कुदाउनुपर्छ यस्तो हेरे त कामै गर्न सकिन्न ।’ मैले पनि हेरिनँ मान्छे खसेको ठाउँ । रिदारको अनुहार हेरें । अहो भीरका जादुगर ! आयो अरुण तेस्रोको ड्याम साइड । बग्दै गरेको अरुणले सम्भावनाको सप्पै उज्यालो आफैँभित्र समेटेर बगेजस्तो लाग्यो । हेर्न पनि आँट चाहिने बाटोमा हाँकेर चालकले गोला पुर्‍याए । उनी राति नै कुइरेको टोली लिएर फर्कंदै थिए । त्यो बाटोमा नाइट यात्रा ! म तर्सेर केही हुनेवाला थिएन । यता यस्तै त हो नि हो !
गोला किन भनेको होला यो ठाउँलाई ? मैले एक शिक्षकलाई सोधेँ । गोला गोलामा नेपाली लडाकु जम्मा भएर बस्थे रे उबेला, भोटसँगको लडाइँमा । त्यसैले गोला भएछ, ठाउँको नाम । गोला पार गरेपछि टुप्लुक्क साँझमा पुगियो वरुण । फोटो हेरेर लोभिएको ठाउँमा म फुत्त छिरें । वरुण सुसायो । सुस्केरा हरायो ।
भोलिपल्ट बरुण उपत्यकाको सेरोफेरो छिचोल्दै बाटो लाग्यौं । बाटैमा भेटिएका थेन्डुक भोटे र वाङ्जा भोटे । दुई युवा मेरा सहयात्री बने । खोलाको खोंच हुँदै लस्करै हिँडेका मान्छे भेटिन्थे । स्थानीय र केही कर्मचारीबाहेक यो ठाउँमा अरू मानिस देख्न मुस्किल थियो । भ्रमण वर्षको तामझामको बाछिटासम्म देखिएन । बाटैमा भेटिएकी थिई, १९ वर्षे तन्नेरी वर्षा भोटे । स्कुल बिदा भएको बेला चाइनासम्म काम गर्न जाँदिरहिछ । पैसा बटुल्यो अनि देश फर्कियो । भोलि बाटो बन्ला र चाइनाको छेउछाउमा मज्जैको होटल चलाम्ला भन्ने उसको दाउ थियो । सँगै हिँडिरहेको थेन्डुकले रेला हान्यो, ‘साहुनी मुसुक्क पैसा भुसुक्क ।’ हाँसो रन्कियो । बडेमानको स्पिकर बोकेको थियो थेन्डुकले । एकै बिसौनी नछोडी हामी नाँच्यौं । सबैको एकै थियो ‘फिलोसोफि’– मरेको भोलिपल्ट दुई दिन । झमक्कै साँझ पर्‍यो । चिप्लो अप्ठेरो उकालो आयो । बर्षाले मेरो हात च्याप्प समाई । समाएरै गाउँ पुर्‍याई । म उसले नदेख्ने गरी भावुक भएँ । भोटेको छोरीले मायाले समाई मेरो हात । यसै भनें मनमनै ।
झिलिमिली हुंगुंङ गाउँ देखियो । कादुरी भन्ने संस्थाले झलमल पारिदिएको रे । मलाई उनीहरूले एउटा होटलमा पुर्‍याएर छोडे । पसिनाले निथ्रुक्क भएको ज्यान लिएर चुलोकै छेउमा बसेँ म । ओदानसरि गाडिएर । साहुनी निमा लामा कोक्रोमा बच्चा लिएर पाउनाहरूका लागि खाना बनाउन लागिन् । तीन छोरीकी आमा । बिहान ६ बजेदेखि लगातार काममा छु भन्थिन् । आठ बज्दा फेरि अर्को लट पाहुना । उनले मलाई हेर्दै भनिन्, ‘रक्सी पार्नु बाँकी छ । साथी बसिदिनुस् है । थकाइले निद्रा आइसक्यो । एक्लै भए निदाउन थाल्छु ।’ बाटो बन्ला, बाटैमा घर बनाम्ला र अझै राम्रो होटल थापम्ला ! सपना उनको यही थियो । जेठी छोरीलाई हिलेमा बोर्डस राखेर पढाएका छन् । भनिन्, ‘भोटेको जातले पहिला पढेन । धेरै दुःख पायो । अब छोरीहरूलाई पढाउने ।’ यसैका लागि बगेको थियो उनको निधारमा पसिना, त्यो चिसोमा पनि ।
थेन्डुक र म बिहानै बाटो लाग्यौं । रोटी र चटनी खाजा बोकेर । दिनभरि हिँडेर किमाथांका नपुगी केही मिल्नेवाला छैन खानेकुरा । ओसिएको मौसम । पानीका छिटा । चिसोले गलेको मेरो ज्यान । हिँड्नै मानेन । लेकको उकालो सुरु हुनै लाग्दा मैले हापें यात्रा । थेन्डुक मलिन अनुहार लगाएर एक्लै बाटो लाग्यो । गाउँ फर्किएँ । गाउँकै नामी तेम्बा सरकहाँ पुगें । बातैबातमा मलाई हिम्मत नहार्न सुझाए तेम्बा सरले । किमाथांका महोत्सव गर्ने योजनामा लागिपरेका थिए उनी । भोटखोलाको हालखबर पुगे हुन्थ्यो देशैभरि, यही चाहन्थे । साँझ गाउँपालिका प्रमुख तेम्वा भोटेकहाँ पुर्‍याए । दुवैको नाम तेम्बा । मीतज्यूहरूका बीचमा बसी भोटखोला विवरण टिप्न थालें मैले । बिजुली आयो । बाटो बन्दै छ । खानेपानी पनि छ । वडावडामा कम्तीमा एउटा स्वास्थ्य एकाइ राख्ने धुनमा छन् दुई मीतज्यू । सञ्चारको सुविधा छैन । भोटखोला गाउँपालिकामा ५६ वटा गाउँ छन् । यति गाउँमा २३ विद्यालय छन् । छोरीहरू स्कुल जाने क्रम बढेको छ । अँध्यारो मुक्त हुने क्रममा छ । मोटर नपुगेकाले हो कि पर्यटनको चमक भने देखिँदैन ।
‘चाइनासँग बाटो जोडेपछि उताको सामान ओसार्ने मात्रै कि यताबाट पनि उता पठाउने ? कुनै बेलाको तिब्बत–नेपाल व्यापारको चमक यो राजमार्गले फर्काउला त ?’ प्रश्न सोझ्याएँ मैले । प्रमुख बोले, ‘अलैँची र कोदोको पकेट एरिया । तरकारी पनि राम्रो फल्छ । चाइनाको खानेकुरा र तरकारीको स्वादै गतिलो छैन । हामीले उनीहरूको बजारमा पठाउने धेरै कुरा हुन सक्छ ।’ जडीबुटी छन् निकैथरीका । नामी छ, भोटे लसुन । कृषिमा क्रान्ति गरेर चाइना–नेपाल व्यापारको हब बनाउने सुनौलो सपना कापीमा लेखेर देखाए गाउँपालिका प्रमुखले ।
एक जना तेम्बाको उपनाम प्रमुख । अर्का तेम्बा सर । अब तेम्बा सर जोसिएर बोले, ‘केही नहुनेले सिस्नोको पात भए पनि बेचौंला भनेर बसेको छ । बाटो मात्र बनोस् न ।’ कसैको ठूला–ठूला योजना हत्याउने दाउ ! कसैको ठूलै होटल व्यवसाय चलाउने ! तेम्बा सर पनि सानदार होटल व्यबसायको दाउ बुनेर बसेका छन् । आफ्नो हैसियतअनुसारको दाउ मुठीमा थुनेका छन् मानिसहरूले । ‘मनाङ र मुस्ताङका शेर्पाजस्तो भोटखोलाको भोटेले हाँक्ला त उन्नति ?’ प्रमुखले राजनीतिक जवाफ दिँदै थिए । तेम्बा सरले थपे, ‘यताको भोटेहरूलाई उता लानुपर्छ । देखाउनु–बुझाउनुपर्छ । एक्सपोजर भिजिट भन्छ नि ।’ उनले अंग्रेजीमा जवाफ दिए । गाउँपालिका प्रमुख बोले, ‘चाइनाका राष्ट्रपति आए । नेपाल–चाइनाको धेरै ठाउँको नाकाको कुरा पनि भयो । किमाथांकाको कोही नामै लिँदैन । चाइनासँग नाता–साइनो जोडिएको, सम्धीज्यू, सोल्टीज्यू भएको नाका ! सबैभन्दा छोटो र छरितो नाका पो त ।’ कान्ला कान्लामा, पाखापाखामा चाइनालाई बेच्न सक्ने खजाना लुकाएर बसेको छ भोटखोला, भन्छन् मान्छेहरू ।
बिहानै उठें । बाटोको नक्सा लिएँ । लेक हापें । गाउँको बाटो चल्दिएँ । सिमसिम गर्दै थियो मौसम । हुंगुंङ गाउँबाट अब चेपुवा पुग्नु छ । कैले खोंच कैले उकालो हिँड्दै थिएँ । चौतारीमा भेटिए, दुई कलिला भरिया । अब उनीहरू साथी बने । फेरि अर्को चौतारो आयो । बिसायौं । परबाट दुई मान्छे आए । मलाई नियालेर हेरे । खबर टिप्न हिँडेकी केटी भनेपछि, गाउँको खबर बताउन तयार भए । नोर्चे भोटे आफैँ अघि सरे । उनी चेपुवा स्वास्थ्य चौकीका प्रमुख । के गर्ला त बाटोले उनको क्षेत्रमा योगदान ? उनले बताए, ‘स्वास्थ्य उपकरण ओसार्न गाह्रो छ । औषधिसमेत बोकी ल्याउन झमेला छ । गम्भीर बिरामीलाई हेलीले नै ओसार्नुपर्नेछ । यति महँगो सुविधा गरिबको पहुँचमा छैन । सदरमुकाम धाउने उपचार यतै गर्न पाइन्थ्यो । बाटो भए कमसेकम चन्दा उठाएरै भए पनि बिरामीलाई परको अस्पतालमा पुर्‍याउन पाइन्थ्यो ।’ केहीबेर कुरा गरे । ‘स्वास्थ्य बिग्रेजस्तो छ, ख्याल राख्नू है’ भन्दै बिदा भए ।
अब फेरि दुई भरिया गोरे र भुवन बाँकी रहे । उनीहरू अरुण खोलाको किनारमा साहुको अलैँची टिप्न हिँडेका । रमाइलो फाँट आयो । परपर कुहिरो उड्यो पहाडमा । वरिपरि कोदो झुलेको थियो । बीचमा चुटुक्कको बाटो लुकेको थियो । हामीले बिसायौं । एकै छिन सँगै बस्यौं । खाजा बाँडेर खायौं । भुवनले बिरह पाख्यो, ‘मलेसिया गएको थिएँ । साह्रै कष्ट भयो । आमासँग निकै बेर फोनमा रोएँ । अनि एक दिन देश फर्किएँ ।’ यति भनिसक्दा मौसमजस्तै ओसिलो भयो ऊ । ‘अनि अब ?’ मैले सोधें । ‘दिदी धन पो छैन, मन त छ नि । बाटो बनेपछि जिप चलाउन पनि सक्छु । त्यति गर्न पाए बिहा गर्थें । बूढीले होटल थाप्थिहोला ।’ सपना बताएर लजाउँदै मुस्कुरायो २२ वर्षे तन्नेरी ।
दोबाटो आयो । हामीलाई छुटायो । उनीहरूले दिएको चाइनिज बिस्किट मैले झोलामा हालेँ, मायाको बासनासहित । निकै बेर एक्लै हिँडें । उकालोमा स्याँ–स्याँ गर्दै थिएँ । पछाडिबाट कोही आयो नजिकै । उसको र मेरो पुग्नुपर्ने ठाउँ एउटै– च्याम्टाङ गाउँ । बीचको चेपुवा हुँदै लिंगम गाउँ पुगियो । यसलाई मानिसहरू भोटखोलाको सानो काठमाडौं भन्दा रहेछन् । उपत्यकामा लुपुक्क परेर बसेको सुन्दर गाउँ । झरीको लुकामारीमा परपर उडेको कुहिरोले झनै सुन्दर पारेको ।
एउटा होटलमा एक हूल कामदार तोंग्वा तान्दै थिए । एक छिन बिसाएपछि म उनीहरूको मन भर्न थालें । समूहका एक किटोक भोटेले भने, ‘बाटो बने त के मा पो फाइदा नहोला र हाउ ! जिन्दगी नै बदलिएला नि ! हाम्रो कामको सामान ओसार्न सजिलो होला । पैसा जोगिएला । हजार रुपैयाँ बोराको सिमेन्टलाई ६ हजार तिर्नुपर्छ । उता १५ सय बोरा पर्ने जिरा मसिनो चामल यता ६ हजार पर्छ । कमाएको पैसा पनि खानपानमै सकिन्छ ।’ धरान र काठमाडौंकै धनी मान्छेसँग प्रतिस्पर्धा गर्नुपरिरहेको थियो, उनीहरूको सानो कमाइले । हिँड्नै लाग्दा एक प्रौढले हातै जोडेर भने, ‘बाटो कुरा पुर्‍याइदिनू बिन्ती ।’

च्याम्टाङ पुग्दा रातै पर्‍यो । भोलिपल्ट झरी बिसायो । सूर्य उदायो । अलमल सकिएन । साथी भेटिएन । यही गाउँमा आएर रोकिएको थियो बाटो । च्याम्टाङ गाउँदेखि छुम्सुर गाउँसम्म तन्किएको भीर जिंग्रिङ्ग उभिएको थियो, सांग्व्वा भीर । सेनाले भीर फुटाउँदै छ । सेनाको घर बन्दै छ । कामदार र ठेकेदारको कुरा नमिलेर काम रोकिएको छ । नेताहरूले मुल सडक आ–आफ्नै दैलोमा पुर्‍याउने प्रपञ्च रचेकाले कामले गति लिन सकेको छैन । दिक्क छन् गाउँले । अममलकै बीच दुई भलाद्मी मानिसलाई बाटोमा भेटें । शिक्षक रहेछन् जेवा भोटे । बाटोसम्म छोड्न आए । भीरको भूगोल बताए । बिस्तारै जानुस् छुम्सुर पुग्न सक्नुहुन्छ भनरे आँट भरिदिए । पकेटको स्काई फोन निकालेर दिए । भेट हुन नपाउँदै यो कस्तो बिश्वास ! जय होस् जेवा सर ।
तल कतै सुसाइरहेको अरुण नदीको आवाज, सरकसरक हुने सुकेका पातहरूको संगीत । सबै सुन्दै भीरको बाटो हिँडे, बिस्तारै बिस्तारै । डरमर्दो बाटोमा स्थानीयहरू खुकुरी भिरेर हिँड्छन् । म त यसै पुगें, छुम्सुर गाउँ । साँझमा गोरु खेद्दै गरेका मानिसको पछि लागेर उनकै घर गए । आगोको छेउमा बसें, उही ओदानी पोजमा । यही घरमा अरू दुई मानिस पाहुना रहेछन्, किमाथांका जान हिँडेका । अजिंगरको आहारा दैवले जुराएन त !
छुम्सुरदेखि किमाथांका पुग्ने बाटोलाई गाउँलेहरू बाँदर पनि नहिँड्ने बाटो भन्दा रहेछन् । कतिपय ठाउँमा आफ्नै जुत्ताले टेकेर बाटो बनाउँदै पनि हिँडे । भीर, पहिरोको के कुरा ! ब्यागप्याकसहित उल्टो झुन्डिएर, बाँसको जरा समात्दै पनि हिँडे । उकालो सकिएपछि रोड खनेको बाटो भेटियो । चाइना छुने रोड । यही बाटोले डोर्‍याएर किमाथांका पुर्‍यायो, साँझमा टुप्लुक्क । भिरालोमा फिँजारिएर बसेको किमाथांका गाउँ । ढुंगाका घरहरू, रंगीचंगी टिनका छाना । बार्दलीमा फूलहरू । पारि सुसाएको अरुण, अनि चाइनाको चाँगा बजार । आहा ! मलाई चेपुवा गाउँमा कसैले भनेको सम्झें, ‘यो नानीको ज्यान त हिँड्न सक्दैन रैछ, हिम्मत त माने हो ।’ ज्यानभन्दा अघिअघि मन हिँडेर आइपुगें । एउटा होटलमा छिरेर आगो ताप्दै थिएँ, हुंगुंङबाट छुट्टिएको थेन्डुक टुप्लुक्क छिर्‍यो ।
दिदी ! भन्दै नजिकै आयो, ‘तपाईं फर्किदैन भन्ने मलाई थाहा थियो । स्याउला लिन जाँदा डाँडाबाट हेरिबस्थें, दिदी कैले आउला भनेर !’ उसको मायाले मेरो त आँतै भरियो ।
होटलकी ८० वर्षे सिदर भोटे, चाइनाकी छोरी नेपालमा बिहे गरी आएकी । पारि चाइनाको मान्छेसँग यताको दोहोरी चल्छ रे ! पारिकाले भन्छन् रे, ‘तिमीहरू राजा नभएको, टुहुरोहरूजस्तो छ, विकास पनि छैन ।’ यताकाले फर्काउँछन् रे, ‘खान–लाउन पाएर मात्र के भयो, तिम्रो देशको हाकिमले भेडा–बाख्राजस्तो थुन्छ ।’ यति सुनाएर उनले भनिन्, ‘मो चाइनाको भए पनि नेपालकै पक्ष लिन्छा ।’ नेपालको सरकार कमजोर भयो । माइतीको अघि लाज भयो । ८० बर्ष भए पनि उनको मनमा एउटा ईख बाँकी छ, किमाथांकाबाट मोटर चढेर खाँदबारी पुग्ने । आफ्नै देशको अस्पतालमा उपचार गराउने । खाँदबारीसँग जोडिनु नै एउटा सपना थियो ।
भोलिपल्ट टहल्दै गर्दा स्थानीय दोर्चे भोटेले पारिको गाउँ देखाए । ठ्याक्क पल्लोपट्टिको पाखामा सानदार भवन थियो । ‘चाइनाको डेन्डाङ् नगरपालिका कार्यालय । लिफ्ट पनि छ । उनीहरूको लिफ्ट हाम्रो लिस्नो,’ यति भनेर उनी मज्जाले हाँसे । कस्तो लाग्ला त पारिको विकास हेरी वारि बस्नु ? मुख छोपेर उनले भने, ‘लाज लाग्छा ।’ बात मारिसकेर म गाउँको पाखातिर झरें । एक जना मानिस चौंरी जोत्दै थिए । म नजिक गएर कुरा गर्न खोजेको, उनले पो स्वाट्ट गोजीबाट स्मार्ट फोन निकालेर मेरै अन्तर्वार्ता लिए, ‘यो किमाथांका पाँच वर्षमा कहाँ पुग्छ भन त ?’ उनी वडासदस्य दमाई नावा रहेछन् ।
अर्को दिन होटलकी पेम्बा दिदीसँग भोटे लुगामा मेला भर्न हिँडेँ । चौंरी जोत्दै थिए केटामान्छेहरू । उवा छर्दै थिए महिलाहरू । पर्म लाउने परम्परा जीवितै थियो । ‘हामी चौंरी जोत्दै छ, पारितिर ट्र्याक्टर,’ एउटाले रेला गरे । सबै हाँसे । मेला भरे, भुटेको गहुँ र जाँडको नास्ता खाए । पारिको सरकारले घर बनाइदिनेदेखि बच्चा पढाइदिनेसम्म सबैथोक गर्छ । यता बाटोसम्म छैन । ‘चाइनातिर ठूला–ठूला घर भए के भो त, हाम्रोजस्तो खान लाउन जान्दैना । ट्वाइलेटमा आची बस्न जान्दैना,’ कोदालो बिसाउँदै पेम्बाले थपिन् । हाँसोले मेला रन्कियो ।
नेपाल सरकारको आँखाबाट कहाँ हो कहाँ छ– किमाथांका । यताका मानिसको मिहिनेत देखेर चाइनाको सरकार नै खुसी भएको छ । चाइनाले आफ्ना अल्छी जनताको सुविधा नै काटिदिएछ एक वर्ष । र, भनेछ– नेपालको मान्छेबाट सिक । एक पुस्ताबाट अर्को पुस्तामा प्राकृतिक जीवनशैली हस्तान्तरण भएको छ । औषधि उपचारदेखि रम्ने–रमाउने उनीहरूको आफ्नै विधि र नीति छन् । बजारको हावा नलागेको भोटखोलाको जीवन प्रकृतिसँगै टाँसिएर बाँचेको छ । कान्ला–कान्लामा दुःख उभिएको छ । उनीहरू हाँस्न र रेला हान्न छोड्दैनन् । रमाएरै दुःख जितेका छन् ।
अर्को दिन किमाथांका प्रहरीले मलाई पारि चाइना घुमायो । नदीमा लगातार डोजरको आवाज झर्कोलाग्दो थियो । प्रकृतिको दोहन गरी बिल्डिङ मात्रै उभ्याउनु विकास हो भनी किमाथांकाले नसिकोस् । बाटो आउनुपर्छ भन्नेमा अडिग भए पनि यसले ल्याउने विनाशसँग हाम्रा मानिसहरू सतर्क भने थिए । बाटैभरि चाइनाको चाउचाउको खोल र मानिसहरूको पाइतालामा चाइनिज जुत्ता देखियो । नेपाली चाउचाउ र जुत्ता किन नपुगेको होला यो भेगमा ! मनमा खल्लो लाग्दै थियो । यत्तिकैमा एक जना मानिसले बडेमानको भाँडोमा जाँड बोकेर पारि चाइना लैजाँदै गरेको देखें । उनले भने, ‘नेपालको कोदो र जाँड भनेपछि चाइनाका मानिस हुरुक्क गर्छा ।’ सन्तोष लाग्यो । सँगै हिँड्दै गरेकी २३ वर्षे पासाङले भनी, ‘तल गोलासम्म बाटो आाउँदा त हामीलाई राहत भएको छ । यहीँसम्म आइदिए त यिनीहरूको हेपाइ कम हुने थियो । कम्ती महँगो छ र !’ जो–जोसँग कुरा गरेँ, सबैको भाव एकै थियो । अर्काको दरबार हुनु र आफ्नो घर हुनु फरक छ । अर्को देशमा भर पर्न मनले
मानेको छैन ।
पारिबाट फर्केर आउँदा होटलभरि एक हूल युवा थिए, तोंग्वा तान्दै गरेका । उनीहरू पारि चाइनाबाट फर्केका रे ! राति चाइना–नेपाल गेट च्यातेछन् । ज्यानको माया मारेर खोला किनारै–किनार चाइना पुगेछन् । लेबर काम गरे । पैसा कहीं पाएनन् । कतै हिउँमा टिक्न सकेनन् । सबै छोडेर उनीहरू फर्के । चाइनाको सय, नेपाली सोह्र सय । यही लोभमा काम गर्न जाने मानिसको लर्को दिनकै भेटिन्छ । वैधानिक रूपमा रोजगारमा जाने कुनै सरकारी योजना छैन । केही परे जिम्मा लिने कोही छैन । मेक्सिकोबाट भागेर अमेरिका जानेहरूको जस्तै हाल रहेछ किमाथांकामा ।
अर्को दिन लेक पार गर्दै, फेरि ओरालो झर्दै १२ घण्टामा हुंगुंङ गाउँ फर्किएँ । राति दुर्घटनामा परें । खुट्टा अशक्त भयो । पाँच दिन थलिएर बसें । दुःख हेरेर पुग्दैन, भोग आफैं, भनेझैं लाग्यो प्रकृतिले । प्रदेश नम्बर एकका योजना प्रमुख र स्थानीय सरकारको पहलमा ट्र्याक्टर जोहो भयो । पाँचौँ दिनमा घिस्रिएर ट्र्याक्टरतिर लाग्दै थिएँ । किमाथांकामा भेटिएकी पासाङ नै मलाई डोर्‍याउँदै थिई, ‘दिदी यता त यस्तै हो, उपचार गर्न लिएर गएको मानिसलाई सेलाएर आउने हो । हेली बोलाए पनि आाउँदाआउँदै मान्छे मरिसक्छ । मेरो बा पनि त्यसैगरी बित्यो ।’
बरुण उकालो लागेपछि भोटखोलालाई निषेधित क्षेत्र मानिएको छ । हेलिकोप्टरले पनि अनेक प्रक्रिया छिचोलेर आउनुपर्छ । म ट्र्याक्टर चढें । ऊ बिदा भई । विकराल छ बाटो । दसघण्टे ट्र्याक्टर यात्रामा चालक सुनील गुरुङले भने, ‘दुर्घटनाको कुरा भइरहन्छ । तर, डराएर के गर्ने दिदी, कर्मले जहाँसम्म पुर्‍याउला त्यहीँसम्म जाउँला । तापाईं पनि कर्मकै कारण यो हालतमा ट्र्याक्टरमा हिँडेको छ ।’ कहिले बन्ला नि बाटो !
भोटखोलाका स्थानीय नागरिक सुक्खा बन्दरगाहका लागि जमिन दिन तयार छन् । चाइना अघि सर्न तयार छ, बाटो बनाउन । काठमाडौंको सरकारसँग बलियो गरी बोल्न अरुण नदीपट्टिका मानिसको पहुँच कमजोर छ । नाका महोत्सव गर्न लागिपरेका स्थानीय अगुवा तेम्बा नावा काठमाडौंमा भेटिए । उनीलगायतको टिम लगातार प्रयत्नमा छ । तर, काठमाडौंलाई यो कुरा सुनाउन हम्मे–हम्मे परेको छ । राष्ट्रपतिसँग भेट ढोकैमा पुगेर रोकिएको सम्झेर उनी खिन्न भए । भने, ‘सरकारले किमाथांकालाई नेपालको एपेन्डिक्स मान्छ होला ।’ तमोर नदीपट्टिका मानिस राजाका पालामा मन्त्री थिए । दुई–तिहाइको सरकारमा मन्त्री छन् । अरुण हाँगोका मानिसको आवाज काठमाडौं आउन नपाउँदै बिलाउँछ । ल्हासाबाट सबैभन्दा छोटो नेपाल जोड्ने नाका यही हो । नेपाल र नेपालीको आर्थिक व्यापारको सम्भावना बढाउने नाका यही हो । यही छायामा छ । पुतलीको लार्भाजस्तै लुकेर बसेको उत्साहको पोको फुकाउन आतुर छन्, मानिसहरू । यस्तो सामरिक महत्त्वको नाका कहिले खुल्छ होला ! भोटखोलाले पर्खिरहेछ ।

गाउाको शिरमा सुस्ताउादै किमाथांकालीहरु

Page 18
कोसेली

नदीहरूको मृत्यु

- अरुण गुप्तो

स्प्रिङ, समर, ओटम र विन्टर विभाल्दीको ‘द फोर सिजन्स’ भन्ने भायलिन कन्सर्टीका ऋतुहरू हुन् ।
विन्टर कोन्सर्टोमा विन्टरको कथालाई लिएर उनले गीत र संगीत रचना गरेका थिए । यो ‘अलेग्रो नोन मोल्तो’, ‘लार्गो’ र ‘अलेग्रो’ गीतको वेगसँग सम्बन्धित छ । उनले विन्टरको मध्यम वेगलाई मन पराएजस्तो छ । हिउँदको जम्ने र कपाउँने बर्फिला बाटामा छिनछिनमा खुट्टा बजाइरहनु र दाँत कँपाइरहनु यो शीत ऋतुको दृश्य हो ।
काठमाडौंको हिउँदको दृश्य यस्तो थियो होला । हिमालका गाउँमा यस्तै होला । तराईको शीतमा धूलोमिश्रित कुहिरो अबका दृश्य हुन्छन् । विभाल्दीको संगीतबारे युरोप सहरका केटाकेटी बुझ्न चाहन्छन् । काठमाडौंका ठाउँठाउँमा भेटिने कार्बनको तीव्र गन्ध, धूलो र चिसो हावाको गन्धले विकृत संगीत पनि निर्माण गर्दैन ।
शीतलाई हामीले कसरी बोध गर्ने ? धूलो र कार्बनको गन्ध, घाँटी च्याप्ने वायु, आँखामा हुने ज्वलनबाट ? विभाल्दीको संगीत हाम्रा लागि असान्दर्भिक हो । काठमाडौंजस्ता सहरका लागि त झनै असम्भव । शीत ऋतुको तीव्र अथवा मध्यम वेग बोध हुनु सम्भव छैन । पर्यटकहरू के भन्छन्, मलाई थाहा छैन । धेरै त काठमाडौंमा बस्दैनन्, हिमालतिर लाग्छन् । हामीसँग पर्यटनको विषय क्लाइमेट चेन्ज, हामी र हाम्रो राजनीतिका विषय हुन् । पर्यटनको विषय राजनीति र पर्यावरणशास्त्र दुवैसँग जोडिएको छ । त्यसैले पर्यटनसँग पोलिटिकल इकोलोगी जोडिएको छ । पोलिटिकल इकोलोगी बुझ्नु पर्यटन, समुदाय, राजनीति र पर्यावरणबीचको सम्बन्ध बुझ्नु हो ।
यो लेख मैले हालै अध्ययन गरेका दुई किताबबाट प्रभावित छ— सञ्जय नेपाल र जार्को सारिनेनका ‘पोलिटिकल इकोलोगी एन्ड टुरिजम’ पढ्नलायक महत्त्वपूर्ण किताब हुन् । उनीहरूले समुदायका कुरालाई क्रिटिकल रूपमा छलफल गरेका छन् । डेबिड नेउसुम, सुजन मुर र रोस दौलिङका ‘नेचुरल एरिया टुरिज्म’ पनी पढ्नयोग्य किताब हुन् ।
समुदायले बुझेको वातावरण एउटा क्षेत्रविशेषको ज्ञान हो । उसको क्षेत्रको विनाश समुदायको विचारको विनाश हो । हामीले अत्मसात् गर्ने कुरा साधारण छ, दुई रूख नलगाई एउटा बिरुवा पनि काट्न सकिँदैन । पोलिटिकल इकोलोगी सामाजिक, सामुदायिक वातावरणीय विचार हो । काठमाडौं अथवा विराटनगरको एउटा पोखरी पुर्नुभन्दा पहिले, यी सहरको सामुदायिक चेतना बुझ्नुपर्छ । यो चेतना सहरको इतिहासमा बसेको हुन्छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय निर्णयमा सामुदायिक चेतनालाई सम्मान नदिनु क्लाइमेट चेन्जको कारणमध्ये एउटा मुख्य कारण हो ।
राचेल कर्लसनको ‘साइलेन्ट स्प्रिङ’ को सानो उपाख्यान सम्झन्छु— अमेरिकाको मध्यमा एउटा सानो सहर थियो, जहाँ सबै प्राणी वातावरणसँग सामञ्जस्यमा बसेका देखिन्थे । त्यो सहर चेस बोर्डजस्तै खेतहरूको मध्यमा थियो, जहाँ गहुँबालीको भूमि र गिरिपार्स्व (सानो पहाड) का फूल बगैंचा थिए । स्प्रिङ ऋतुमा हरिया मैदानमाथि पुष्पका सेता बादल बग्थे । अटममा ओक वृक्ष, म्यापेल र बिर्च (रूख) ले यस्ता रङ निर्माण गर्थे, पाइन रूखहरूका पृष्ठभूमिमा त्यो प्रज्वलित हुन्थ्यो र धिपधिप बल्थ्यो । शिशिर ऋतुमा अर्ध–लुकेको तुँवालोको बिहान डाँडामा फ्याउरो भुक्थ्यो र हरिण आनन्दले खेत पार गर्थे ।
समुदायको विचार उसको वातावरणसँग सम्बन्धित हुन्छ । काठमाडौंको समुदाय उसको वतावरणीय मनस्थिति हो । राचेलले कल्पना गरेका सहर धेरै छन् । तर, यस्तो सहरको कल्पना गर्नु नै पर्दैन । स्याल कराएको राति, ९ बजेपछि छोरीलाई प्राम (नानीहरूलाई राखेर गुडाइने कुर्सी) मा राखेर हामी रिङरोडतिर हिँड्थ्यौं ।
अलिकति रूखको समूह हुनेबित्तिकै लाटोकसेरोको हुट सुनिन्थ्यो । अलिकति रिंगरोड छोड्नेबित्तिकै क्रिकेट (कीराको प्रजाति) हरूको संगित सुनिन्थ्यो ।
मौसम परिवर्तनका अन्तर्राष्ट्रिय समस्याबीच काठमाडौंमा अनेक समस्या थपिएका छन् । यो अर्कटिकको बरफ पग्लिनेजत्तिकै समस्या हो । एउटा रूखको विनाश उसको वरिपरिका लाखौं जीवनरूपको मृत्यु हो, जसको फल अरू समय र परिस्थितिमा भयानक रूपमा देखापर्छ । बाहिरी रूपमा केही देखापर्दैन । तर, अन्तरिक संरचना एक प्रकारको विश्वव्यापी सहयोजन हो । यही नदेखिने प्रणाली भन्नु प्राकृतिक वस्तु, जीवजन्तु सम्पूर्ण रूपमा एकअर्काका भाग हुन् । यो संरचनामा क्षति हुनेबित्तिकै नराम्रो परिणाम तुरन्तै देखिँदैन । यसलाई केओस थ्यौरी भनिन्छ ।
काठमाडौंका नदीहरूको मृत्यु भइसकेको छ । नदीहरूको मृत्युको मुख्य कारण संसारका सहर हुन् । मानवीय विकासको गरिमा यी सहर नै हुन् । तर, हामी अब केही सुधार गर्न सक्दैनौँ । यी सहरहरू केओस थ्यौरीका जन्मथलो हुन् । भुपेन हजारिकाले ‘गंगा तुम बहती हो क्यूँ’ गाएका छन् । यो वाग्मतीको गीत हो, नाइल नदीको पनि गीत हो । यस्ता गीत अब अर्थहीन छन् । नदीहरूको गीत मन्दिरको सहरमा पुगेर अन्त्य भएको छ । अब ग्लास्गोमा फेरि नाटक हुन्छ । भर्खरै एन्टेनिओ गुटेरेस खिन्न भएका छन् । उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायले एउटा मौका फेरि गुमाएको छ । अमेरिका, ब्राजिल, भारत र चीनले महत्त्वाकांक्षी उद्देश्यलाई नकारेको देखिएको छ । कार्बन नियन्त्रन हुन गाह्रो छ ।’
अब के उपाय छन् ? एक दिनको कथा भन्छु । कथा नै उपाय हो । बुद्धको जन्मस्थान मेरो गाउँबाट धेरै टाढा छैन । मेरो गाउँको नाम बहादुरगन्ज हो । बौद्ध चेतना भएका वृद्ध अहिले पनि छन् त्यहाँ । रहमत धेरै वर्षपहिले नै संसार छोडिसकेका फकिर थिए । मेरो आमासँगको कुराकानी अहिलेसम्म याद छ । पूर्व–पश्चिम राजमार्ग बनाउँदा, कृष्णनगरदेखि चन्द्रौटासम्मको लिन्करोड पनि निर्माण सुरु भएको थियो । रहमत बुबाको क्लिनिकमा मुटु दुख्यो भनेर आए । बुबाले भने, ‘तिमीलाई केही रोग छैन ।’ अचम्म परेर रहमत मेरी आमालाई भेट्न गए । र, भने, ‘रातिको सपना धेरै डरलाग्दो थियो आमा । म ठूलो वृक्षमा फल टिप्न जाँदा, एउटा हाँगा भाँच्चियो । तर, मलाई केही भएन । हाँगाको आर्तनाद अहिलेसम्म सुन्दै छु, काम गर्न मनै छैन ।’ आमा हाँस्नुभयो, ‘रूख काटेको असह हुन्छ तिमीलाई । उता सडक निर्माणतिर नजाऊ ।’
रहमत बुबालाई विपनाको र आमालाई सपनाको कुरा सुनाउँथे । म उनको कुन सपना सही हो भन्दै हुर्केको छु । दुइटैको महत्त्व बुझ्छु । बुबाले उनलाई औषधि नदिनुको कारण पनि बुझेको थिएँ ।
समुदाय धेरै जटिल संरचना हो । पोलिटिकल इकोलोगीले यो संरचना बुझ्न सक्दैन । पोलिटिकल इकोलोजीले आर्थिक, सामाजिक विषयको सम्बन्ध वातावरणसँग छ भन्ने तथ्य त बुझाउँछ तर समुदाय सपना र विपनाको सम्मिश्रणबाट बनेको छ भन्ने कुराबाट अनभिज्ञ छ । मिथक, इतिहास, स्मृति, अनुष्ठानजस्ता अनेकौं स्वप्न र विपनाको मिश्रण हो समुदाय । पोलिटिकल इकोलोगी एउटा भव्य कथा हो, जसको जरो सामाजिक–सामुदयिक संरचनाबाट अलग भएर सफल हुन सम्भव छैन । तर, शब्दकोशीय समस्या छ । काठमाडौंको समुदायले मलाई धेरै चकित पार्छ । म मेरा विद्यार्थीसँग धेरै घुमेको छु । बोडेदेखि चापागाउँ, कीर्तिपुरदेखि धुलिखेलसम्म । शब्दकोशमा कुनै पनि समुदायको व्याख्या सटीक नै हुन्छ तर काठमाडौं या दाङका नेवार, वीरगन्जका मैथली, पोखराका गुरुङ अथवा बुटवलका बाहुन समुदाय शब्दकोशीय व्यख्याबाट सीमित धारणा ल्याउँछन् ।
त्यसैले विभाल्दी म्याड्रिडको सम्मेलन बुझ्दैनन्, रहमतको चिन्तन बुझ्छन् । पोलिटिकल इकोलोगीले टुरिज्मलाई राम्ररी बुझाउँछ र डिस्कोर्समा ल्याउँछ । दुवैको मध्यमा समुदाय छ । २०२० को वर्ष नेपालको लागि धेरै अर्थमा महत्त्वपूर्ण छ । म्याड्रिडको सीमितता र विकासको आकांक्षाले काठमाडौंको कार्बन घट्न दिँदैन ।
रहमत भन्थे, ‘पैगम्बर मोहम्मद, मक्काबाहिर धेरै दिन खजुरको रूखमुनि बसेका थिए, ध्यानमग्न ।’ इस्लामको चिन्तन यस्तै रूखमुनि र गुफाहरूभित्रका अलौकिक चेतनाबाट आएको हो भन्ने रहमतको विचार थियो ।
रचेल अन्तिममा लेख्छिन्, ‘जहाँ दुइटा सडक छुट्टिन्छन्, हामी त्यहाँ उभिएका छौं ।’ तर, रोबर्ट फ्रर्स्टको परिचित कविताजस्तो सन्तोषजनक सडक छैन, जुन सडक हामीले हिँडिरहेका छौं, त्यो सडक भ्रामक रूपमा सरल छ, एउटा सर्लक्कको सुपर हाइवे, जसमा हामी तीव्र बेगले हिँडिरहेका छौं तर त्यसको अन्त्यमा विनाश छ । सडकको अर्को मोड, ‘कम हिँडेको बाटो’ ले पृथ्वीलाई बचाउने भरोसा दिन्छ ।
पोलिटकल इकोलोगीले यस्ता विचारलाई समावेश गर्न सक्दैन भने म्याड्रिड सम्मेलनको सार्थकता हुँदैन । कैजर हक, बंगलादेशका प्रसिद्ध कवि हुन् । उनको कविताको अंश नेपालीमा अनुवाद गर्न कोसिस गर्छु :

यदि हामी
भनौँ कि
कुरा यस्तै छ
हामी कि आफूलाई जगाउन सक्छौ
कस्टप्रद रूपमा
अलिअलि गरी
योग्य हुनुसम्म

‘योग्य हुनु’ संगीतको बुझाइसम्मको कठिन बाटोमा हिँड्नु हो । सहरबाट पोखरी, जंगल, पहाड, समथर, डाँडाकाँडा जाने बाटो बिराउनुलाई पोलिटिकल इकोलोगीले स्पस्ट पार्न सक्दैन । मलाई लाग्छ, सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ पोलिटिकल इकोलोगीको मर्म बुझेको कथा हो । पर्यावरणीय समस्या पोखरीबाट सहरतिर आएको छ । यो सिद्धान्तले समुदायको सीमित व्याख्या गरिदिँदा, प्रकृतिप्रतिको हाम्रो संरचनात्मक झुकाउलाई अलग्याउँछ ।
एउटा रूख ढलेको हेर्दा मुटु काम्छ । अमेजनमा त हजारौं रूख जलेका छन् । त्यहाँका आदिवासी समुदायलार्ई के भयो होला ? त्यहाँ पनि होलान्— हजारौँ रहमत । उनीहरूको सामुदयिक सपनामाथि को घोत्लिन्छ होला ? गायत्री स्पिभाकको भनाइ सधैं सम्झिन्छु, ‘धेरै गाह्रो छ— भन्दै जाऊ, लेख्दै जाऊ, सजिलो बाटोबाट हामी हिँड्दैनौँ ।’
सल्लक परेको गाडी र ट्रेन दौडाउने बेगअघि हिउँदको जम्ने र कँपाउने बर्फिला बाटोहरूमा छिनछिनमा खाली खुट्टा हिँडिरहनु अविकसित मानसिकता हो भनिन्छ । खाली खुट्टा दगुर्ने गाउँको त्यो केटालाई एकै छिनको लागि भए पनि फर्काउने मन छ । विभाल्दीको गीतको सर्थकता र सञ्जीव उप्रेतीको ‘पोखरी’ को गम्भीरता बुझ्न पोलिटिकल इकोलोगीले मात्र हुँदैन । खाली खुट्टाले बरु सम्भव होला कि ?

Page 19
कोसेली

अमेजनको आगो

- युवराज भट्टराई

लोबो एक जागुएर
‘मभन्दा पहिला मेरा पिता पुर्खा यो जंगलमा सिकार गर्थे । जागुएर पाउ हो मेरो नाम । म एउटा सिकारी हुँ । यो जंगल मेरो हो । अनि म मरेपछि मेरा सन्ततिहरूले तिनका सन्तानसँग मिलेर यहाँ सिकार गर्नेछन्,’ मेल गिब्सनको सिनेमा ‘एपोक्यालिप्टो’ को प्रमुख पात्र जागुएर पाउको संवाद हो यो ।
स्पेनिस अन्वेषकहरूले अमेरिका पत्ता लगाउँदाताकाको समय हो त्यो । माया सभ्यता आसपासको अमेजन रेन फरेस्टजस्तो लाग्ने घना जंगलभित्र बस्ने सिकारी समुदायको कथा हो— ‘एपोक्यालिप्टो’ । विषम परिस्थितिमा सिंगो समुदाय गुमाउनुपरे पनि अन्नतः कथाको मूलपात्र जागुएर श्रीमती र दुई छोरालाई बचाउन सफल हुन्छ । सिनेमाको अन्त्यमा स्पेनिस अन्वेषकका जहाजहरू देखाउँदै श्रीमती जागुएरसँग सोध्छे, ‘त्यो के हो ?’ ‘तिनले मान्छे ओर्साछन्,’ जागुएर जवाफ दिन्छ । ‘के हामी पनि त्यसमै जान्छौँ ?’ ऊ फेरि सोध्छे । जागुएर भर्खर जन्मिएको नवजात छोराको अनुहारमा हेर्छ र भन्छ, ‘हामी जंगलमै जान्छौँ र नयाँ जीवन सुरु गर्छौं ।’ जागुएर ठूलो छोरालाई जिस्क्याउँछ र उसको परिवार घना जंगलभित्र छिर्छ, जुन तिनीहरूको घर हो ।
‘एपोक्यालिप्टो’ पूर्णतः मेस्मोअमेरिकन क्षेत्रसँग सम्बन्धित छ । त्यसो त स्पेनिसहरूको आगमनसँगै यस क्षेत्रको माया सभ्यता मात्र सिद्धिएन, बदलिँदो सभ्यतासँगै जागुएरजस्ता जंगली सिकारी समुदायको पनि अस्तित्व लोप भयो । युरोपियन सभ्यता अमेरिकी महाद्वीपमा छिरेको पाँचौं शताब्दी भइसकेको छ । तर, अझै पनि यो मेस्मोअमेरिकन क्षेत्रबाट केही दक्षिण ब्राजिलको घना अमेजन रेन फरेस्टभित्र युरोपियन सभ्यताले छुन नसकेका कैयौं सिकारी समुदाय छन्, जसको घर नै अमेजन रेन फरेस्ट हो । आज पनि थुप्रै जागुएरहरू आफ्नो घर जल्छ वा ध्वंस हुन्छ भन्ने त्रासमा बाँचिरहेका छन् । ब्राजिली राष्ट्रपति बोल्सेनारोको नीतिले तिनको अस्तित्व फेरि नमीठोसँग खतरामा परेको छ । यसको पछिल्लो उदाहरण पाउलो पाउलिनो ग्वाजाजाराको हत्या हो ।
ग्वाजाजारा ठ्याक्कै पाँच सय वर्ष पुरानो काल्पनिक पात्र जागुएरजस्तै लाग्छन् । ग्वाजाजारा उनको आदिवासी समूहको नाम हो र तिनको क्षेत्रलाई अरारिबोइया आदिवासी संरक्षण क्षेत्रका रूपमा चिनिन्छ । यो ब्राजिलको अमारत्ने सहर नजिकै पर्छ । अमेजन रेन फरेस्टभित्र ४,१३० वर्ग किलोमिटर क्षेत्र ओगटेको अरारिबोइया आदिवासी संरक्षण क्षेत्र करिब ५,३०० ग्वाजाजारा आदिवासीहरूको आश्रयस्थल हो ।
‘लोबो’ (पोर्चुगिजमा ब्वाँसो) उपनामले चिनिने पाउलिनो सिकारमा आश्रित जीविकोपार्जन गर्ने ग्वाजाजारा आदिवासी मात्र थिएनन्, बरु उनी जुजारु वन संरक्षक पनि थिए । आफ्नो संरक्षण क्षेत्रभित्र थोत्रे बन्दुक भिरेर जंगलमा हुने बाह्य मानवीय हस्तक्षेपविरुद्ध नियमित गस्ती गरिरहन्थे । त्यसैले पनि मुख्यतया उनी ठूला–ठूला काठ तस्करको निसानामा थिए । ब्राजिलको ‘इन्डिजिनियस मिसनरी काउन्सिल’ की मारान्हावो संयोजक गिल्डेरलान रोड्रिगेजले रोयटर्सलाई भनेकी छन्, ‘तिनको कामले तिनको क्षेत्रमा लुट मच्चाउने जमातलाई बाधा पारेको थियो । हत्याराहरू नजिकैको सहरी इलाकाका तस्कर हुन्, जो अनधिकृतसँग संरक्षण क्षेत्रभित्र पसेर लुट मच्चाउने गर्छन् ।’ त्यस्तै सर्भाइभल इन्टरनेसनलकी वरिष्ठ अनुसन्धानकर्मी साराह सेङ्कर यो हत्याबारे बोल्छिन्, ‘यो हरितभूमि बढ्दो अनधिकृत वन विनाशको चपेटामा छ— यस्तो हुन सक्छ भन्ने सबैको अनुमान थियो ।’
पछिल्लो समय विश्वको सबैभन्दा ठूलो प्राकृतिक दोहन र विनाश ब्राजिलको अमेजन रेन फरेस्टले भोगिरहेको छ । विश्वकै फोक्सो मानिने यो जंगलले विश्वको कुल २० प्रतिशत अक्सिजन उत्पादन गर्छ । पृथ्वीकै भविष्यसँग जोडिएको अमेजनको विनाशले विश्वकै ध्यान तान्नु अनौठो होइन । यद्यपि यसको सबैभन्दा ठूलो मार अमेजन जंगलमा आश्रित लाखौं आदिवासीले भोगिरहेका छन् । अमेजन सँगसँगै त्यहाँ बस्ने आदिवासीको अस्तित्व नामेट हुने खतरा छ ।
‘लोबो’ अर्थात् पाउलिनो अमेजन र आदिवासीको भविष्यमाथि साँच्चिकै चिन्तित देखिन्थे । लोबोको चिन्ता एउटा खरो आक्रोशको रूपमा पोखिन्थ्यो । ठीक एक वर्षपहिले सर्भाइभल इन्टरनेसनललाई उनले भनेका थिए, ‘यो वन विनाश देखेर म बहुलाउँछु । यी मानिसहरूलाई के लाग्छ ? यिनीहरू यसरी निसंकोच हाम्रो घरमा घुस्न सक्छन् ? हुँदैन । हामी दिँदैनौँ । के हामी कहिल्यै तिनका घरमा घुसेका छौँ ? कहिल्यै तिनलाई लुटेका छौँ ? मेरो रगत उम्लिन्छ । मलाई एकदम रिस उठेको छ ।’
जागुएरजस्तै लोबो पनि एक कलिलो छोराको युवा पिता थिए । उनी आफ्ना सन्तानका लागि अरारिबोइया जंगल क्षेत्र सुरक्षित राख्न चाहन्थे । त्यसैले उनले सन् २०१२ मा ‘गार्जियन अफ फरेस्ट’ (वन रक्षक) समूह बनाएर जम्मा १२० जना आदिवासी लडाकुसहित अवैधानिक वन विनाशविरुद्ध नियमित गस्ती गर्दै आएका थिए । बेलाबखत काठ तस्कर र जंगलमा आगजनी मच्चाउने समूहबीच झडपको अवस्था सिर्जना भइरहेको थियो । २०१२ यता यो वनरक्षक समूहका तीन जना मरिसकेका छन् भने समूहले काठ तस्करका २०० भन्दा बढी क्याम्प जलाइसकेका थिए ।

जेनोसाइड र इकोसाइड
ब्राजिलको इन्डिजिनियस मिसिनरी काउन्सिलका अनुसार, सन् २०१८ मा मात्रै कुल १३५ आदिवासीको हत्या भएको थियो । बोल्सेनारो निर्वाचित भएर अमेजनप्रतिको उनको धारणा सार्वजनिक भएपछि यस्तो हत्याको संख्या पनि आकासिएको हो । जब बोल्सेनारोले ‘अमेजनलाई आर्थिक उपार्जनको साधन’ बनाउने अभिव्यक्ति दिए, आदिवासीमाथिको आक्रमण र वन अतिक्रमणले तीव्रता पायो । ‘अब एक थोपा पनि आदिवासी रगत नचुहियोस् !’ नामको क्याम्पियन युरोपमा चलाइरहेकी आदिवासी अभियन्ता सोनिया बोने ग्वाजाजारा भन्छिन्, ‘राष्ट्रपतिको डिस्कोर्सले आदिवासी जेनोसाइडलाई वैधानिकता दिएको छ ।’
न्युयोर्क टाइम्सका अनुसार, यो वर्षको सुरुमै दुई–दुईपटक ग्वाजाजारा आदिवासीले आफूहरूविरुद्ध तस्करले भाडामा बन्दुकधारी खटाएको र आफ्नो ज्यान असुरक्षित रहेको निवेदन सरकारलाई गरेका थिए । तर, सरकारले कुनै वास्ता गरेन । यदि आदिवासीप्रति बोल्सेनारो सरकारको अलिकति पनि सकारात्मक दृष्टिकोण हुन्थ्यो भने यो नोभेम्बर १ मा नियमित सिकारमा निस्किएका लोबोलाई उनकै क्षेत्रभित्र घुसेर ढुकेरै तस्करहरूले हत्या गर्न सक्ने थिएनन् । सायद यही विषयलाई मध्यनजर गर्दै ९० हजारभन्दा बढी ब्र्राजिलियन आदिवासीको छाता संगठन एपीआईबीले भनेको छ, ‘बोल्सेनारोको सरकारको हात आदिवासीको रगतले रंगिएको छ ।’ एपीआईबीको नेतृ तथा अभियन्ता सोनिया बोने ग्वाजाजारा लेख्छिन्, ‘यो संगठनात्मक जेनोसाइडलाई रोक्नुपर्छ । हाम्रा मान्छेको हत्या–नीति बन्द गर !’
अमेजन रेन फरेस्टभित्रका आदिवासी संरक्षित क्षेत्र सबैलाई खुला गर्ने नीति बोल्सेनारोले अघि सारेका छन् । उनको नीतिले आदिवासी हत्या, वन विनाश र डढेलो अनियन्त्रित तरिकाले उकालो लागेको छ । बाह्य जगत्सँग सम्पर्क भएका/नभएका अमेजन रेन फरेस्टमा आश्रित सबै आदिवासीको संवैधानिक सुरक्षाको ग्यारेन्टीको साटो बोल्सेनारो तिनको अस्तित्व नामेट पार्न उद्वेलित देखिन्छन् । त्यसैले अहिले ब्राजिलमा आदिवासी वा आदिवासी अभियन्ताको हत्या हुनु सामान्य भइसकेको छ । सेप्टेम्बर पहिलो साता अमेजन क्षेत्रको ताबानिंगा सहरमा आफ्नै परिवारजन सामुन्ने आदिवासी अधिकारकर्मी म्याक्सिएल पेरेरा डी सान्तोसको गोली हानी हत्या गरिएको थियो । त्यसो त १५ दिनपहिले १४ डिसेम्बर, शनिबार, अरारिबोइयाकै आदिवासीद्वय फिर्मिन्हो ग्वाजाजारा र राइमुन्डो ग्वाजाजारालाई गोली हानी मारियो ।
त्यसो त लोबोको हत्यारालाई नछाड्ने सरकारी प्रवक्ताले बताइसकेका थिए । फिर्मिन्हो र राइमुन्डोको हत्याले झन् शंका थपेको छ । मारान्हवो राज्यमा मात्र १९८५ देखि २०१७ सम्ममा १५७ जनाको यस्तो प्रवृत्तिको हत्या भइसकेको थियो भने केबल पाँच घटनाका दोषीलाई मात्रै कानुनी सजाय भएको छ । लोबोका बुवा जे. मारिया एसोसिएट प्रेससँग भन्छन्, ‘मेरो छोरा आफ्नो इलाकाको रक्षार्थ मर्‍यो ।’ मारियालाई न्याय मिल्ने कुरामा विश्वास छैन । ‘जबसम्म म बाँच्छु, जबसम्म म तीर र भाला फाल्न सक्छु, तबसम्म म लडिरहन्छु । हामी यो लडाइँबाट पछि हट्दैनौँ । हामीले भाबी पुस्ताका लागि यो जंगल जोगाउनुपर्छ । यदि हामीले थुप्रै योद्धा गुमाउँदा लड्न छोड्यौँ भने अबको बीस/तीस वर्षमा हाम्रा सन्ततिका लागि के बाँकी रहला ? यो जंगलको के हाल होला ?’
छोराको हत्याको न्याय पाउने र जंगल तथा आदिवासी हक–अधिकारको संरक्षण गर्ने विषयमा किन लोबोका पितालाई बोल्सेनारो सरकारसँग अलिकति पनि भरोसा छैन ! जंगललाई निहित स्वार्थका रूपमा लिने बोल्सेनारो नीति आफैँमा आदिवासी हक–अधिकारविरुद्ध उभिएको छ र सत्ता खुद आदिवासीको अस्तित्व नामेट गर्न प्रत्यक्ष/परोक्ष लागिपरेको छ । जंगललगायत अन्य प्राकृतिक स्रोत–साधनलाई केवल आर्थिक उपार्जनका लागि मात्र लिने संसारका सबै सत्तासीनहरू आदिवासीलाई तिनका निहित स्वार्थको व्यावधानका रूपमा लिन्छन् र आदिवासीको
विनाशमा उत्रन्छन् ।
आदिवासी अधिकारकर्मी तथा अभियन्ता वार्ड चर्चिल ‘इन्डिजिनियस रेसिस्टेन्स टु जेनोसाइड’, ‘इकोसाइड एन्ड एक्सप्लोरेसन इन कन्टेमपोररी अमेरिका’ भन्ने पुस्तकमा लेख्छन्, ‘आदिभूमिका आश्रित आदिवासी मात्र होइनन्, त्यस भूमिलाई समेत नष्ट गरिन्छ ।’ वार्ड चर्चिल आदिवासीको जातीय वंशविनाशलाई चर्चित ‘जेनोसाइड’ को संज्ञा दिन्छन् भने भूमि र पर्यावरणको विनाशलाई ‘इकोसाइड’ भन्छन् । नभन्दै अहिले ठ्याक्कै अमेजन ‘जेनोसाइड’ र ‘इकोसाइड’ को सिलसिलेवार अपराधबाट गुज्रिरहेको छ ।

अमेजन–डढेलो
सम्भवतः विश्वको ध्यान खिच्न सफल यो वर्षकै सबैभन्दा ठूलो घटना भनेकै अमेजनमा लागेका डढेलो हो । जुन, जुलाई र अगस्टमा त अमेजनको डढेलोको रेकर्ड हालसम्मकै उत्सर्गमा पुगेको थियो । नेसनल इन्स्टिट्युड अफ स्पेस रिसर्चका अनुसार, यो वर्ष अमेजनमा ७४ हजारभन्दा बढी डढेलो लागेका थिए । सन् २०१३ देखि रेकर्ड गर्न थालिएको मध्ये यही नै अहिलेसम्मको भयानक डढेलो थियो । अमेजन रेन फरेस्टको मुख्य भूभाग ६७० मिलियन हेक्टर अर्थात् ६० प्रतिशत ब्राजिलमा पर्छ । त्यसैगरी संसारको सबैभन्दा अधिक जैविक विविधता पनि यही क्षेत्रमा पाइन्छ । त्यसैले पनि अमेजनमा लाग्ने डढेलोले विश्वकै ध्यानकर्षण गर्नु जायज र स्वाभाविक देखिन्छ ।
प्राकृतिक रूपमै पनि जंगलमा आगो लाग्ने गर्छ । तर, वैज्ञानिकका अनुसार अमेजनमा लागेको डढेलो स्वाभाविक डढेलो होइन । यो त वन विनाश गरेर खेती लगाउने गिरोहहरूको सांगठनिक कार्य हो । पर्यावरणविद्हरू राष्ट्रपति वोल्सेनारोले लिएको अमेजनलाई आर्थिक उपार्जनको साधन बनाउने नीतिबाट वन विनाश र डढेलोले प्रश्रय पाएको तर्क गर्छन् । अर्कोतिर बोल्सेनारो वैज्ञानिक र पर्यावरणकर्मीप्रति झन् आक्रामक देखिन्छन् । सुरु–सुरुमा तिनले एनजीओहरूले बढाई–चढाई डाटा देखाएर ब्राजिलको बद्नाम गर्न खोजेको आरोप लगाए । बिस्तारै एनजीओहरूले नै आगो लगाइरहेका छन् भन्न भ्याए । अझ यो डिसेम्बरमा त उनले प्रसिद्ध अभिनेता तथा संरक्षणकर्मी लियानार्दो डिकाप्रियोलाई नै बिनातर्कको आरोप लगाए ।
अमेजनको डढेलो स्वाभाविक भने होइन । अमेजन रेन फरेस्ट आफैँमा अग्नि प्रतिरोधात्मक छ । त्यहाँ परिरहने पानी र ओसिलो भूभागका कारण लामो समयसम्म अझ धेरैभन्दा धेरै क्षेत्रमा डढेलो फैलन पाउँदैन । नेसनल ओसियानिक तथा एटमोस्फेरिक एडमिनिस्ट्रेसनले प्रस्ट खुलाएको छ, ‘रेन फरेस्टमा अत्यधिक खडेरी पर्दा मात्रै डढेलो लाग्ने गर्छ । तर, यो वर्ष अमेजन क्षेत्रमा त्यस्तो अस्वाभाविक खडेरी पनि परेको छैन् ।’ सुक्खा मौसममा डढेलो ज्यादा फैलन्छ तर सुरुआती आगो मान्छे वा अन्य कारणबाट सल्कने गर्छ । वैज्ञानिकको दाबी छ, अमेजनको डढेलोपछाडि मानवीय हात छ— उनीहरू कृषि, खनिज तथा प्राकृतिक सम्पदा दोहनका लागि अमेजनमा आगो दन्काइरहेका छन् ।
जब बोल्सेनारो सत्तामा आए, अमेजन क्षेत्रमा कृषि तथा खनिज उत्खननमा जोड दिने अवधारणा अघि सारे— अमेजनमा अस्वाभाविकसँग डढेलो बढेर आयो । वन विनाश आकासियो । ठूला–ठूला काठ तस्करहरू सक्रिय भए । डब्लुडब्लुएफका अनुसार, यही अनुपातमा वन विनाश हुँदै जाने हो भने सन् २०३० सम्ममा एक चौथाइ अमेजनको जंगल सकिनेछ ।
‘मानौं म निरो भएको छु, अमेजनको आगो मैले नैं झोसे जस्तो !’ वोल्सेनारो कटाक्ष गर्छन् । वास्तवमा यस्तै देखिन्छ । वोल्सेनारोले अहिलेसम्म देखाएको स्वभावले यही भन्छ । उनको चुनावी नारा थियो, ‘म एक सेन्टिमिटर जमिन पनि आदिवासी संरक्षण क्षेत्रको रूपमा छुट्याउँदिनँ ।’ यसरी उनी अल्पसंख्यक आदिवासीविरुद्धको ‘एन्टी इन्डिजिनियस सेन्टिमेन्ट’ को भोट बटुलेर सत्तासीन भएका थिए । उनलाई त बहुसंख्यक गैरआदिवासीको सेन्टिमेन्ट चाहिएको थियो । सहरकेन्द्रित मतका आधारमा विजयी बोल्सेनारोको आर्थिक नीति पनि सहरकेन्द्रित गैरआदिवासी लक्षित नै हुने भयो । त्यसैले जनवरी १ मा राष्ट्रपति भइसकेपछि उनले आदिवासी अधिकार तथा पर्यावरणीय महत्त्वलाई बेवास्ता गर्दै सहरकेन्द्रित योजना अघि सारे ।
बोल्सेनारोको नयाँ नीतिसँगै आदिवासी हत्या (जेनोसाइड) र प्राकृतिक दोहन (इकोसाइड) आकासिएको छ । आईएनपीईको सर्वेक्षणअनुसार, अघिल्लो वर्षको जुन महिनाको तुलनामा यो वर्षको जुन महिनामा मात्र वन विनाश ८० प्रतिशतभन्दा अधिकले वृद्धि भएको थियो ।
त्यति मात्र होइन, ब्राजिलको वातावरण अनुगमन गर्ने संस्था अब्जरभासोरियो डो क्लिमाका सदस्य कार्लोस रिटल सीएनएनलाई भन्छन्, ‘पछिल्लो ६ महिनायता बोल्सेनारो र उनका वातावरणमन्त्री वातावरणसम्बन्धी काम गर्ने संघसंस्थाहरूलाई खुम्च्याउन र तिनका अधिकार कटौती गर्न लागिपरेका छन् ।’ अमेजनको अस्वाभाविक डढेलो र बढ्दो वन विनाशप्रति चिन्तित हुँदै युरोपियन मुलुकहरूले सहयोगको प्रतिबद्धता देखाइरहे । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनको सहयोगको प्रस्तावमाथि त बोल्सेनारोले ठाडो शब्दमा विरोध जनाए । तसर्थ यो प्रस्ट देखिन्छ— उनी नै अमेजनमा आगो झोसिरहेका छन् तथा आदिवासी रगत लत्पतिएको हातमा मुरली लिएर एकोहोरो फुकिरहेका छन् । अमेजन जलिरहेको छ ।

कसको हो जंगल ?
खासमा कसको हो जंगल ? कसका लागि हो पर्यावरण ? आम सीमान्तकृत भुइँमान्छेहरूलाई लाग्छ, पर्यावरण या वन हुने–खानेको सोखको विषय हो । वास्तवमा जंगल या पर्यावरण सम्भ्रान्त वर्गको सोख वा अर्थोपार्जन स्वार्थको विषय होइन । जल, जमिन र जंगल त आदिवासी र स्थानीय समुदायको अधिकारको विषय हो । हरेक सरकार वा सत्ता यसमा संवेदनशील हुनैपर्छ । अरुन्धती रोयले भारतमा उठाइरहेको एउटा पेचिलो मुद्दा यो पनि हो । त्यस्तै अपदस्त बोलिभियन राष्ट्रपति इभो मोरालेज र उपराष्ट्रपति अल्भारो गार्सिया लिनेराले त पर्यावरण रक्षार्थ पृथ्वी माता र आदिवासीको विशेषाधिकार संविधानमै उल्लेख गरेका थिए । यसलाई पछि पेरुजस्ता मुलुकले समेत पछ्याएका छन् ।
पर्यावरणीय विनाशले जब प्राकृतिक विपत्ति निम्तिन्छ, सबैखाले विपत्तिमा पहिलो सिकार भुइँमान्छेहरू नै हुन्छन् । डढेलो, बाढी–पहिरो–हावा हुरीले यिनै सीमान्तकृतलाई विस्थापित पार्छ, विचलित बनाउँछ । कतिपय अवस्थामा यी भुइँमान्छेको जीवन पनि जंगलमै आश्रित हुन्छ । तिनको जीवन जंगलसँग अभिन्न ढंगले जोडिएको हुन्छ । यति हुँदाहुँदै पनि भूमिहीन विपन्न वर्गहरूलाई भने सत्ता र वन विभागले सदैव वन र पर्यावरणको दुश्मनको रूपमा लिएको पाइन्छ । तिनलाई वन अतिक्रमणकारीको रूपमा हेरिन्छ ।
भूमिहीन सुकुम्वासीहरूको बस्ने आश्रयस्थल पनि वन क्षेत्र र त्यसको आसपास नै हो । वन अतिक्रमणको नाममा पटक–पटक वन विभागले तिनलाई लखेटेर विस्थापित बनाउनु समाजको सामान्य घटना हो । वास्तवमा सुकुम्बासीको नाममा हुकुमवासीले वन क्षेत्र हडप्ने र मुनाफा निकाल्ने गरेको विषय लेखक यज्ञशले ‘भुइँया’ मा उठाएका छन् । उनी लेख्छन्, ‘वनबाट हुने ठूलो काठको तस्करीमा सुकुम्बासीहरूको खासै हात रहेको भेटिँदैन । ठूलो मात्राको तस्करी उनीहरूले गर्न सक्दैनन् । वनबाट सुकेका दाउरा ल्याएर बेच्नेसम्म गर्न सक्छन् । काठ अन्तै पुर्‍याएर बेच्ने तहको शक्ति उनीहरूमा भएको पाइँदैन ।’ वास्तवमा यी भुइँमान्छेहरूका लागि जंगल विनाश गरेर अकूत कुम्ल्याउनु कल्पनाबाहिरको कुरा हो । तर, जंगलबाट उनीहरू अन्य विकल्प नहुँदा हात–मुख जोर्न सक्ने वातावरण भने पाउन सक्छन् । तारा विकको प्रसंगमा यज्ञश लेख्छन्, ‘वनवाट कुनै बेला उनी भारीका भारी दाउरा निकाल्थिन् । दुःख गरेर, दिनभरि रनवन चहारेर जम्मा गरेका सुकेका दाउराको भारी बोकेर तुरुन्तै धनगढी बजार पुग्थिन् र होटलतिर बेच्थिन् ।’ ताराजस्ता भूमिहीनहरूका लागि नजिकैको वन रोजीरोटीको आधार हो ।
तर, शासकको लागि वन भनेको धन हो । जंगबहादुरले बक्सिसस्वरूप फिर्ता ल्याएको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको जंगल औलो नलाग्ने थारू जनशक्तिले फँडानी गरेर खेतीयोग्य मात्र बनाएनन्, आधाभन्दा अधिक जमिन आफू र आफ्ना भाइभारदारका नाममा गराए । थारूहरू आफ्नै थातथलोमा जल, जमिन र जंगलको अधिकारबाट वञ्चित हुन पुगे । यसरी इकोसाइड र जेनोसाइड सँगसँगै जाने गर्छ ।
सत्ताद्वारा गरिने पर्यावरणीय विनाशमा मात्र होइन, संरक्षण क्षेत्र निर्माण र विस्तारजस्ता पर्यावरणीय महत्त्वका योजनामा पनि स्थानीय आिीवासीहरू पीडित हुन्छन् । मोहन मैनाली ‘देखेको देश’ मा पुरानो पदमपुर निकुञ्ज क्षेत्रभित्र परेपछि नयाँ पदमपुरमा प्रतिस्थापित थारूहरूका समस्या देखाउँछन् । नयाँ ठाउँमा थारूहरू जल, जमिन र जंगलमा आश्रित परम्परागत जीविकोपार्जन पद्धतिबाट वञ्चित हुन्छन् । पाहुन महतो भन्छन्, ‘त्यहाँ निकुञ्जको जंगलमा गयो भने निगुरो, कर्कलो र अरू के–के जाती तरकारी टिपेर ल्याउन पाइन्थ्यो ।’ बास्तवमा वनले सीमान्तकृतका सामान्य तर महत्त्वपूर्ण आवश्यकताहरू पूरा गर्छ ।
जंगल, संरक्षण क्षेत्र र स्थानीय समुदाय एकअर्काका परिपूरक हुन् भन्ने मान्यता नेपालमा स्थापित भइसकेको छ । यसको श्रेय डा. सुशीला चटर्जी नेपालीलाई जान्छ । संरक्षण क्षेत्रमा काम गर्दा पहिलो प्रथामिकता स्थानीय समुदायको आवश्यकतालाई दिनुपर्छ भन्ने अवधारण उनले अघि सारेकी थिइन् । यसको उदाहरण हुन् चितवनका सामान्य आदिवासी शंकर चौधरी । उनले बाघमारा सामुदायिक संरक्षण कार्यक्रम अघि सारे, नर्सरीका लागि आफ्नै जग्गा उपलब्ध गराए । उनलाई थाहा थियो, वन पैदावर र वन्यजन्तु संरक्षण गर्नु छ भने सर्वप्रथम स्थानीयको आवश्यकताको सम्बोधन गरिनुपर्छ । उनको अवधारणा अनुकरणीय निस्कियो । अहिले स्थानीय मात्र बाघमारा सामुदायिक संरक्षण क्षेत्रभित्र घाँस, दाउरा, निगुरो, जलुको र घुँगीका लागि आश्रित छैनन् । त्यसो त त्यहाँ गैंडा, बाघ, हरिणजस्ता वन्यजन्तु पनि आश्रित छन् ।
स्थानीयकै हो जंगल भन्ने डिस्कोर्स नेपालका सामुदायिक वनको अवधारणाले पाएको सफलताले पनि पुष्टि गरिसकेको छ । वन विभागका अनुसार, नेपालमा १९,३६१ सामुदायिक वन छन् । २४,६१,५४९ स्थानीय परिवारहरू वनबाट लाभान्वित मात्र छैनन्, तिनले समुचितसँग वन व्यवस्थापन र संरक्षण पनि गरिरहेका छन् । सीमान्तकृत वर्ग, समुदायलगायत महिलालाई पनि सामुदायिक वनले सशक्तीकरणतिर डोहोर्‍याएको छ । वन क्षेत्रको पुनर्जागरणमा स्थानीय समुदायकै हात छ ।
तसर्थ, आदिवासी र स्थानीय समुदायको हो— जंगल । लोबो, शंकर र ५५० हेक्टर ब्रह्मपुत्रको बालुवाको किनारलाई घनाजंगलमा परिणत गरिदिने मिसिङ आदिवासी पाएङको हो, जंगल । दाउराको भारी होटलामा बेचेर नुन–तेल किन्ने ताराहरूको हो जंगल, पाहुन महतोहरूको हो जंगल, परिवारका लालाबाला भोकले रन्थनिँदा निगुरो, कर्कलो र घुँगीदेखि सिस्नो, गिठ्ठा–भ्याँकुर र बाँसको फूलको खोजीमा रनवन रन्थनिनेहरूको हो जंगल ।
वनका असली विनाशक त शासक र सम्भ्रान्त वर्ग नै हुन्, जसले इतिहासदेखि आजसम्म वनलगायतका प्राकृतिक सम्पदा दोहन गरेर अर्बौं कुम्ल्याइरहेका छन् । जंगबहादुरले पश्चिम तराई फाँडेर अंग्रेजलाई नबेचेको भए, नयाँ बस्ती विस्तारका लागि पञ्चायतले पूर्वी तराई फाँडेर भारत काठ निकासा नगरेको भए, के जंगल नासिन्थ्यो त यसरी ? अहिले पनि सत्तासीन शासकहरू नै विकास, पूर्वाधार र समृद्धिको नारा दिएर वनमाथि हमला गर्छन् । किनकि प्राकृतिक दोहनबाट सबैभन्दा द्रुत नाफा सम्भव छ । अमेजनले भोगिरहेको र निजगढ जंगलले भोग्न लागेको पीडा पनि यही हो ।

Page 20
कोसेली

इन्कलाब अमिताभ !

अमिताभ क्रान्तिदेखि उज्यालोतिर फर्किए । र, त्यही उज्यालो बोकेर उनी हिन्दी सिनेमामा छिरे, जुन उज्यालोले आज सिने जगत्लाई नयाँ बाटो देखाइदिएको छ । पचास वर्षदेखि बलिरहेको यो उज्यालोको यात्रा आज पनि जारी छ ।
- छुदेन काविमो

भारत स्वाधीनताको आन्दोलनलाई टिकाइराख्ने एउटै नारा थियो, ‘इन्कलाब जिन्दावाद !’
यो उर्दू वाक्यांश हो, जसको अर्थ हुन्छ— लङ लिभ रेभ्युलेसन । अर्थात् क्रान्ति जीवित रहोस् । अमिताभ बच्चनको वास्तविक नाम ‘इन्कलाब’ हो, जो त्यही नाराबाट लिइएको थियो । अर्थात् उनको नामसँग क्रान्तिको शब्द जोडिएको थियो । तर, त्यो क्रान्तिकारी नाम छिट्टै इतिहास बन्यो ।
अमिताभका पिता कवि हुन् । हिन्दीका चर्चित कवि हरिवंश राय बच्चन । उनका कविता सुन्नेहरू आज पनि अमिताभजत्तिकै हिरो उनलाई मान्छन् । त्यति
शक्ति थियो उनको कवितामा । त्यही कविका अर्का साथी थिए, सुमित्रा नन्दन पन्त । उनले इन्कलाबलाई नयाँ नाम दिए, ‘अमिताभ ।’ त्यसको अर्थ हुन्थ्यो, ‘सधैँ रहिरहने उज्यालो ।’
त्यसपछि इन्कलाब, अमिताभ बने । अर्थात् क्रान्तिदेखि उज्यालोतिर फर्किए । र, त्यही उज्यालो बोकेर उनी हिन्दी सिनेमामा छिरे, जुन उज्यालोले आज सिने जगत्लाई नै नयाँ बाटो देखाइदिएको छ । पचास वर्षदेखि बलिरहेको यो उज्यालोको यात्रा आज पनि
जारी छ ।
कुनै दिन यस्तो होला । अमिताभ बच्चन दुनियाँमा नरहलान् । तर, उनले छोडिराखेको त्यो उज्यालो यो दुनियाँमा सधैं रहिरहनेछ ।
किनकि, त्यो उज्यालो उदाउँदै गरेको घामको किरणझैं शान्त छ । शीतल छ । अनि, आफैंमा
सुन्दर छ ।
यो सानो टेक्स्टमा अमिताभका फिल्म, उनको प्रेम, जीवन र राजनीतिमाथि सम्पूर्णमा लेखिनु सम्भव छैन । ती विषय त गुगलमै भेटिएलान् । मैले सानै छँदादेखि अमिताभलाई कसरी अनुभूत गरें, यहाँ म त्यही
लेख्दै छु ।

पहिलो भेट
त्यो बेला मेरो गाउँमा टीभी थिएन, जुन बेला मैले पहिलोचोटि अमिताभ बच्चनलाई देखेको हुँ ।त्यो डिसेम्बर महिनाको कुरा हो । डिसेम्बर हाम्रो निम्ति जहिले प्रिय हुन्थ्यो । किनकि, यही जाडो महिनामा लेप्चाहरूको दसैं सुरु हुन्थ्यो, जसलाई हामी नाम्सुङ भन्छौं । त्यही लेप्चा दसैंको छेकमा हो, कोही बाहिरबाट भिडियो देखाउन गाउँमा आइपुग्थे ।
म मेरो गाउँ मलबुङको कुरा गर्दै छु, जहाँ एउटा पुरानो क्लब घर थियो । तर, त्यो डान्स गर्ने क्लब घर होइन । समाजको बैठक गर्ने क्लब घर । त्यहीँ फिल्म देखाइने भयो ।
गाउँमा कुच्चो निकाल्न थालेको थियो । हामी दिनभरि अर्काको अम्लिसोबारीमा खेताला जान्थ्यौं । जति कमाउँथ्यो, त्यसैले बेलुकी मिलीजुली फिल्म हेर्थ्यौं । किनकि, त्यो भिडियो छुटे, अर्को फिल्म हेर्नलाई हामीले पूरै एक वर्ष कुर्नपर्थ्यो ।
मलाई अझै थाहा छ । त्यसचोटि पहिलो दिन हामीले श्रीकृष्ण श्रेष्ठको फिल्म हेर्‍यौं ।
‘लक्ष्मीपूजा’ भन्ने त्यो फिल्म यति गजबको थियो, जुन फिल्म देखाइएपछि गाउँलेलाई अर्को फिल्म नै चाहिएन । दुई दिन लगातार त्यहाँ एउटै फिल्म चलिरह्यो । क्लबघर त्यही, मान्छे त्यही, फिल्म त्यही, तैपनि हामीले हेर्न छाडेनौं । तेस्रो दिनको कुरा हो, गाउँका अलि जान्नेहरूले डिमान्ड गरे, ‘भोलि शोले– हेरौं, अमिताभ बच्चनको ।’
हो त्यही बेला हो, मैले पहिलोचोटि भिडियोमा एउटा लम्बु हिरोले फाइट गरिरहेको देखेँ, जो उनै अमिताभ बच्चन थिए ।
तर, फिल्म सकिन पाएकै थिएन । क्लबघर खाली भयो । डिमान्ड गर्ने दुई–चारबाहेक अरू जम्मै क्लबबाट निस्किँदै गए । उनीहरू गनगन गरिरहेका थिए, ‘भोलि त नेपाली फिल्म नै हेरौं है !’
गनगन गर्नेहरूमा एउटा म आफैं पनि त थिएँ नि । किनकि, मैले नि अमिताभ बच्चनले बोलेको भाषा बुझ्नै सकिरहेको थिइनँ ।
अहिले बुझ्दै छु, त्यो फिल्म त शताब्दीमा बनिएको हिट फिल्ममध्ये एक थिएछ । तर के गर्ने ? हामीलाई हिन्दी भाषा राम्ररी आए पो ? त्यही हिन्दीको कारण हो, भोलिपल्ट हामीले फेरि उही ‘लक्ष्मीपूजा’ हेर्‍यौं ।
त्यो मेरो अमिताभ बच्चनसँगको पहिलो फिल्मी भेट थियो, जो निकै लज्जास्पद र दुःखद भेट थियो ।

अग्ला मान्छे
लुते तर अग्ला अमिताभलाई सुरुमा देख्दा जो कोही भन्थे, ‘यस्ता मान्छे पनि फिल्ममा टिक्लान् र ?’
तर त्यही अग्ला मान्छे नै पछि हिन्दी सिनामाको उचाइ बन्न पुगे ।
खासमा अमिताभ अग्ला मान्छे हुन् । उनको उचाइ मात्रै होइन, विचार पनि अग्ला छन् । उनको स्वभाव, व्यवहार र सोच पनि अग्लो छ । र, उनले गरेको यात्रा पनि त्यतिकै अग्ला छन् । अनुहारमा सधैं उज्यालो बोकेर हिँड्ने अमिताभको फिल्मी यात्रा सन् १९६९ बाट सुरु भएको हो ।
‘सात हिन्दुस्तानी’ उनको पहिलो फिल्म थियो, जहाँ उनले सातमध्ये एक पात्रको भूमिका निर्वाह गरेका थिए । अफसोस तर, त्यो फिल्म खासै चलेन । फिल्म हिट नभए पनि अचम्म भो । त्यही फिल्मको निम्ति अमिताभले उदीयमान कलाकारको निम्ति राष्ट्रिय पुरस्कार जिते ।
त्योबेला राजेश खन्ना सुपरस्टार भइसकेका थिए । अमिताभले अर्को फिल्म उनै राजेश खन्नासँग खेल्ने अवसर पाए । १९७१ मा आएको त्यो फिल्म ‘आनन्द’ थियो । तर, यो फिल्मले पनि खासै केही गरेन । तैपनि अमिताभ भाग्यमानी रहे । उनले यो फिल्ममा पनि सहनायकको रूपमा राष्ट्रिय अवार्ड जिते । त्यसपछि आएका फिल्महरू अधिकांश नै फ्लप भइरहे ।
१९७३ को कुरा हो । उनको नयाँ फिल्म आयो ‘जन्जीर’ । यो त्यही फिल्म थियो, जुन फिल्मले अमिताभलाई दुनियाँअघि चिनाइदियो । ‘एंग्री योङ म्यान’ को रूपमा अब उनको पहिचान हरेकसम्म पुग्यो । उनलाई दर्शकहरूले स्टार हिरोको रूपमा हेर्न थाले ।
यसको ठ्याक्क दुई वर्षपछि हो— दुईवटा फिल्म आए, ‘दिवार’ र ‘शोले’ । यी फिल्म यति हिट बने, उनी रातारात सुपरस्टार भए । ‘दिवार’ त्यो फिल्म थियो, जसलाई इन्डिया टाइम्स मुभीले शताब्दीकै पच्चीस सदावहार फिल्ममा सामेल गरिदियो । शोलेले कमाइको जुन रेकर्ड कायम गर्‍यो, त्यो आफैंमा इतिहास बन्यो । पछि यसलाई पनि शताब्दीको पच्चीस सदावहार फिल्ममा समावेश गरियो ।
७० को यही दशक हो, जसले अमिताभको धरातल यति बलियो बनाइदियो, जुन धरातलमा आज पचास वर्षपछि पनि उनी उभिएर मुस्कुराइरहेका छन् ।
नेपाली चलचित्रका प्रसिद्ध निर्देशक तुलसी घिमिरे भन्छन्, ‘अमिताभसँग सिनेमाको निम्ति प्रेम र धैर्य बराबर थियो, जसको कारण नै उनी आज त्यो उचाइमा छन् ।’
घिमिरेले १९७७ तिर उनीसँग काम गरेका थिए । ‘अमर, अकबर एन्टोनी’– यो त्यही फिल्म हो, जसमा तुलसी घिमिरेले सहसम्पादकको भूमिका निर्वाह गरेका थिए ।
त्योबेला टेक्निकल काम गर्नेहरूलाई निकै गाह्रो थियो । कोहीबेला ब्रेकफास्ट नखाई काममा पुग्नुपर्थ्यो । त्यही समयको कुरा हो । एक दिन तुलसी घिमिरे साउन्ड डबिङ गरिरहेका थिए । तर, साथीहरूको पेट कराएर बारम्बर डिस्टर्भ भइरहेको थियो ।
अमिताभले अचानक कसैलाई बोलाए । र, ब्रेक फास्ट ल्याउनका निम्ति अह्राए ।
त्यसपछि सबैलाई टेबलमा राखे र सोधे, ‘आप लोग ने ब्रेक फास्ट नहीं किया है ना ? आइये पहिले कुछ खाइये !’
तुलसी घिमिरे सम्झिन्छन्, ‘यति संवेदनशील थिए अमिताभ ।’
उनी जहिले पनि समयको ख्याल राख्थे । बिहान ६ बजेदेखि ८ बजेसम्म सुटिङ होस्, उनी आधा घण्टा पहिल्यै आइपुग्थे । तर, आठ बज्नासाथ उठेर निस्किहाल्थे ।
‘मान्छे यस्ता पनि हुन सक्छन् र ? मलाई त पहिलोचोटि अमिताभसँग भेट्दा यस्तै लागेको थियो’, ‘कौन बनेगा करोडपति’ सम्पादन गरेपछि जापानमा रहँदै आएका तुलसीराम गडेल भनिरहन्छन्, ‘करोडपतिको फाइनल कार्यक्रम लाइभ हुन्थ्यो । यसैले एकचोटि मैले अमिताभसँग भेट्ने अवसर पाएको थिएँ । त्यति भद्र, त्यति शालीन र त्यति फरक मान्छे मैले जीवनमा अर्को देखेको छैन । उनी साँच्चै हरकिसिमले अग्ला मान्छे हुन् ।’

दार्जिलिङ सम्बन्ध
अमिताभलाई दार्जिलिङसँग अगाध प्रेम थियो । उनी यहाँको सुन्दरताको प्रशंसा गर्थे । उनका केही फिल्म यहीं छायांकन भएका छन्, जसमध्ये ‘वर्षातकी एक रात’ पनि थियो ।
राहुल सांकृत्यायन दार्जिलिङका लेखक हुन् । अमिताभका कवि पिता हरिवंश राय बच्चनसँग उनको गहिरो सम्बन्ध थियो । इलहाबादमा नै रहँदा सुरु भएको त्यो सम्बन्ध निकै दिगो थियो, जुन समय दार्जिलिङमा ‘वर्षातकी एक रात’ को सुटिङ भइरहेको थियो । त्यही बेला हरिवंश पनि दार्जिलिङ आइपुगेका थिए । त्यो १९८० को कुरा हो ।
त्योबेला राहुल सांकृत्यायनको निधन भइसकेको थियो । तैपनि उनकी पत्नी कमला सांकृत्यायनलाई भेट्न मात्रै पनि हरिवंश दार्जिलिङ आएका थिए । राहुलकी छोरी जया सांकृत्यायन सम्झिन्छिन्, ‘त्यो दिन हाम्रो घरमा अमिताभ पनि आउने हल्ला थियो । किनकि, फिल्मको सुटिङ दार्जिलिङमा नै चलिरहेको थियो । अमिताभ दार्जिलिङको फुटबल फाइनल हेर्नसम्म पुगिसकेका थिए । त्यसैले घरमा भ्याईनभ्याई थियो । अमिताभ आउने खबरले गाउँका केटीहरू लाम लागेका थिए । तर, पछि अमिताभ आएनन् । हरिवंशजी आउनुभो । आमासँग निकै लामो गफ गर्नुभो । त्यो कुरा उहाँले आफ्नो बायोग्राफीमा पनि समेट्नुभएको छ । म त मधुशाला सुनेर हुर्केकी मान्छे हुँ । मेरो निम्ति त, अमिताभभन्दा धेर हिरो हरिवंश नै हुनुहुन्थ्यो । र, अहिले पनि म त्यसरी नै सोच्ने गर्छु । त्यसैले पारिवारिक सम्बन्ध हुँदा पनि मैले अमिताभलाई भेट्न पाइनँ । तैपनि म उनलाई फलो गरिरहन्छु । यस्तो लाग्छ, उनी कलाकै निम्ति जन्मिएका मान्छे हुन् । उचाइमा पुगेपछि धेरै मान्छे उड्न खोज्छन् । तर मलाई लाग्छ, उनी जमिनसँग जोडिएर बस्ने मान्छे हुन् ।’

कलाप्रतिको झुकाव
फिल्म बनेको झन्डै दुई दशकपछि हो, बल्ल मैले पहिलोचोटि ‘शेंहशाह’ हेरे । त्यो २००७ तिरको कुरा थियो, जतिबेला म बाग्राकोट हाइस्कुल पढ्दै थिएँ । बीडीआरमा हामी जहाँ बस्थ्यौं, त्यो घरमा एउटा ब्याल्क एन्ड ह्वाइट टीभी थियो, जहाँ प्रत्येक शनिबार अमिताभको फिल्म दिन्थ्यो ।
‘शनिबारकी रात, अमिताभकी साथ’, त्यो कार्यक्रम सूचीको नाम यस्तै थियो । हामी सिकुवामा गुन्द्री ओछ्याउँथ्यौ र फिल्म हेर्थ्यौं । विज्ञापन आउँदा होमवर्क लेख्थ्यौं । फिल्म आउँदा अमिताभ हेर्थ्यौं । मेरो अमिताभ प्रेम सुरु भएको त्यही सिकुवाबाट हो ।
त्यहीँ मैले दोस्रोचोटि ‘शोले’ हेरेँ, र थोरै मित्रता बुझेँ । ‘सूर्यवंशी’ हेरेँ र थोरै प्रेम बुझेँ । ‘बागवान’ हेरेँ र आफ्नै आपा आमा सम्झिएँ । पछिपछि त यस्तो लाग्थ्यो, उनको हरेक फिल्मले केही बोलिरहेकै हुन्छ, जहाँ म आफैंलाई कहीं न कत्तै भेटिरहेकै हुन्छु ।
अमिताभले सयौं फिल्म गरिसकेका छन् । तैपनि उनी थाकेका छैनन् । डाक्टरले आराम गर्ने सुझाव दिइरहन्छ । तैपनि उनी सुटिङतिर दगुरिरहेकै छन् ।
कलासँगको मान्छेको झुकाव कस्तो हुनुपर्ने हो ? मलाई लाग्छ, उनको पचासवर्षे यात्राले दुनियाँलाई सिकाएको सबैभन्दा ठूलो कुरा यही झुकाव हो ।

अमिताभको छाप
अमिताभ जुन युगमा उदाए, त्यो त मेरा आपाहरूको समय थियो ।
त्यो जमानामा दार्जिलिङमा खुब नाटक चल्थ्यो । दार्जिलिङे नाटकको त्यो इतिहास आफैंमा सुन्दर छ ।
नाट्यभूषण सीके श्रेष्ठ भन्छन्, ‘नाटकको मान्छे परियो । त्यै भएर होला, फिल्म त म निकै हेर्थें । त्यसैले अमिताभको फिल्म पनि धेरै हेरें । तर, सुरुमा त मलाई नि लागेकै थियो— यस्तो बिजुलीको खम्बाजस्तो मान्छे पनि कहिल्यै हिरो हुन्छ र ?’
नाटक लेख्ने सीके श्रेष्ठ त्यो बेला कविता पनि पढ्थे । उनी हरिवंश रायका फ्यान थिए । उनले सुरुमा अमिताभलाई यसकारण मात्रै हेरेका थिए, कि उनी कविको परिवारबाट आएका हिरो हुन् ।
बिस्तारै उनमा तर अमिताभको लत बस्दै गयो । उनले अमिताभका हरेक फिल्म हेर्न थाले । पछि ‘मै आजाद हुँ’ भन्ने फिल्म आयो । त्यो बजारमा खासै चलेन । तर, श्रेष्ठलाई त्यो फिल्मले यति धेरै छोयो, जसको छाप उनले बनाएका नाटकमै देखिन थाल्यो ।
त्यो फिल्ममा अमिताभको भूमिका एउटा सामान्य मान्छेको थियो । त्यहीँबाट प्रभावित बनेर श्रेष्ठले नाट्यकर्मीहरूको समूह तयार गरे— भद्रेको टोली । त्यो समूहको नाटक दार्जिलिङमा खुब चल्यो ।
उनले नाटकमा भद्रबहादुर लामिछानेको पात्र तयार गरे, जुन पात्रले आम दार्जिलिङेको कथा भन्थ्यो । जो जुनसुकै बिहेमा पनि निमन्त्रणाबिनै गएर सबभन्दा धेरै खुशी हुँदै नाँच्न सक्थ्यो । समाजमा जोकोही मरे पनि सबभन्दा धेरै दुःखी बनेर रोइदिन सक्थ्यो । र, मातेपछि आफ्नो गुनासो हरेकलाई सुनाउँदै हिँड्थ्यो ।
हाम्रो आम चरित्र आज पनि त यस्तै छ नि, होइन र ?
पछि त श्रेष्ठको हरेक नाटकमा भद्रे अनिवार्य बन्दै गयो ।
‘त्यो आम मान्छेको पात्र खासमा अमिताभकै प्रभावबाट जन्मिएको थियो,’ श्रेष्ठ थप्छन्, ‘आज पनि जतिबेला म थकित हुन्छु, निराश बन्छु । तब, त्यही ‘मै आजाद हुँ’ हेर्छु । अनि त्यो फिल्म, आज पनि मलाई उत्तिकै सुन्दर लाग्छ ।’

असामान्य यात्रा
अमिताभको जीवन भनेको संघर्षको कथा पनि हो । उतारचढावहरूको कथा पनि हो । उनको स्वरको प्रशंसा सधैं हुने गर्छ । उनले केही गीतसम्म गाउन भ्याइसकेका छन् । तर, उनै अमिताभ हुन्, जो फिल्ममा आउनुअघि ‘आकाशवाणी’ मा सामाचार वाचकको निम्ति अन्तर्वार्ता दिँदा फेल भएका थिए ।
उसो त, फिल्मी करियर पनि उनको उतारचढावपूर्ण नै छ । त्यसैले होला, निराशाको कारण केहीचोटि उनले फिल्मी दुनियाँ नै छोड्ने कोसिस पनि गरे । तर, फिल्मले उनलाई कहिल्यै छाडेन ।
जुन समय फिल्मबाट उनी हराउँदै थिए, त्यो समय उनको जादू सानो पर्दामा चल्यो । ‘हु वान्ट्स टु बी ए मिलिनियर्स’ त्यो शो हो, जसले उनको डुब्दै गरेको जहाजलाई सम्हालिदियो । त्यसपछि ‘कौन बनेगा करोडपति’ त अहिलेसम्म उनले सञ्चालन गरिरहेकै छन् ।
बलिउडमा पचास वर्ष टिक्नु भनेको सामान्य विषय होइन । र, त्यही असमान्य यात्रामा अहिले अमिताभ बच्चन हिँडिरहेका छन् । उनले दर्जनौं पुरस्कार जितिसकेका छन् । लाखौं प्रशंसक कमाइसकेका छन् । तैपनि उनले आफ्नो जमिन बिर्सिएका छैनन् ।
मुम्बई, जहाँ उनको घर छ । त्यहाँ आज पनि हरेक आइतबार समर्थकहरूको भीड लाग्ने गर्छ । उनले घरबाहिर निस्केर एकचोटि हात मात्रै हल्लाइदिऊन्— यत्तिकै निम्ति सैकडौं मानिस बिहानैदेखि कुरिबसेका हुन्छन्, जहाँ रिक्सावालादेखि करोडपतिसम्मको ताँती लाग्ने गर्छ ।
यति सौभाग्यशाली महानायक, सायदै भारतमा अर्का छैनन् ।

कोसेली

घटना : एक विश्लेषण

- जनकराज सापकोटा

भाग्यमाया : वैदेशिक रोजगारीका क्रममा साउदी अरब पसेको छोरा महिनौंदेखि सम्पर्कविहिन भएपछि उनको चिन्ताको पारो उक्लिएको थियो तर त्यो उनको आँगनबाट देखिने पहाड भन्दा होचै थियो । उनी चिन्ता पचाउन चुरोट तान्थिन् र मुखबाट चिम्नीले झैं धूवाँ फाल्थिन् । आकासिँदै बिलाइजाने धूवाँले उनको चिन्तालाई कहिल्यै छोप्न सकेन । धूमपानकै असरले उनी तारन्तार खोकिरहने भइन् । जोडले खोक्दा यस्तो लाग्थ्यो, फोक्सो अन्न नलीको बाटो हुँदै मुखबाट फुत्त बाहिर निस्कन खोज्दै छ । त्यतिबेला उनलाई मूर्च्छा परेजस्तो हुन्थ्यो । पेट बाउँडिन्थ्यो, आँखाका दुवै चेपबाट आँसुको
पित्को निस्कन्थ्यो ।
गाउँमा सरकार थियो । कतिले त्यसलाई गाउँमै सिंहदरबार छ भनि अर्थ्याउँथे । तर गाउँले स्वास्थ्य चौकीमा डाक्टर थिएनन् । तर त्यहाँ कन्डम भने निःशुल्क पाइन्थ्यो । गाउँले तन्नेरी यसैलाई सरकारको उपस्थिति भन्ठान्थे र यौन खेलमा भुल्थे । तर, भाग्यमायाको व्यथा फरक थियो । सहनै नसक्ने भएपछि उनी क्लान्त शरीर लिएर सदरमुकामको अस्पताल धाइन् । खाली पेटमा खाने केही औषधि बोकेर उनी घर फर्किने भइन् । अनि... । पख्नुस् है ।
कर्मप्रसाद : नामजस्तै उनी कर्मजीवी थिए । सानैदेखि देशमै केही गर्नुपर्छ भन्थे । संगातीहरू भन्थे, खुरुक्क लाहुर नपसेर । एक दिन अरूलाई छक्क पार्ने गरी उनले गाउँमै कुखुरापालन सुरु गरे । बैंकबाट लोन निकाल्ने प्रक्रिया बढाए । यही उपक्रमका एकदिन बैंकले फोन गरेर भन्यो, ‘तपार्इंको खातामा भएको हस्ताक्षर र लोन माग फारमको हस्ताक्षर फरक पर्‍यो । तु सच्याउन आउनुस ।’ बेलैमा नपढेको भए उनी हस्ताक्षरको चंगुलमा पर्दैनथे । किनकि औंठाछापले जो काम चल्थ्यो । हस्ताक्षर गर्ने उनको रोजको काम थिएन । किनकि आफ्नो हस्ताक्षर कहीं बिक्दैन भन्ने उनले चाल पाएका थिए । यसरी हस्ताक्षरको फन्दामा डोहोरिएर उनी सदरमुकाम पुगे । अनि... ।
पख्नुस् है ।
पूर्णबहादुर : नामजस्तै भयो । भूकम्पले उनको घरमा पूर्ण क्षति पुर्‍यायो । तर,सरकारी टोलीले उनको नाम आंशिक क्षति पाउनेको सूचीमा राखिदियो । भेदभाव भएको भन्दै उनले पुनर्निर्माण प्राधिकरणमा निवेदन दिए । कैयन घाम उदाए । अस्ताए । तर, केही भएन । अनि निवेदन उपर सुनुवाइ नभएपछि ताकेता गर्न उनी सदरमुकाम हान्निए । अनि...। पख्नुस् है ।
दुखीमाया : नामजस्तै उनको जीवन दुःखले भरिएको थियो । तर, पनि उनलाई आफ्नो जीवनको औधी माया थियो । एकदिन जिल्लास्थित प्रहरी कार्यालयबाट बोलावट आयो । उर्दीको भाषा मिसिएको फोन सन्देश सुनेपछि उनलाई लाग्यो, यतिन्जेल भोगेको दुःख त बरै केही रैनछ । असली दुःख यात्रा अब पो सुरु हुँदै छ । भएको के थियो भने, एउटा गम्भीर अपराधमा समातिएको मुख्य अभियुक्तले बोक्ने मोबाइलमा प्रयोग भएको सिम उनको नागरिकताको फोटोकपी राखेर निकालिएको भेटियो । यस्तो कसरी हुन गयो ?
हुन सक्थ्यो, भूकम्पको राहत लिने बेलामा उनले नागरिकताको फोटोकपी गरेकी थिइन् । त्यसको कुनै प्रति उनले कतै भुलेकी वा हराएकी हुन सक्छिन् ।
हुन सक्थ्यो, कुनै उटपट्याङले योजनाबद्ध रूपमा उनको नागरिकताको फोटो खिचेर अपराधीलाई पठाइदिएको थियो ।
हुनसक्थ्यो, राज्यले दिएको एउटै कागजी खोस्टोमा कसैले मजाक गरिरहेको छ ।
कुनै पनि सम्भावित उत्तरसँग उनको जान पहिचान थिएन । तर, प्रहरीले उनीबाटै उत्तरको अपेक्षा गरेको थियो । घटनाको मतियारझैं उनलाई सदरमुकामस्थित प्रहरी कार्यालय बोलाईयो । अनि...बयान दिएर फर्किने बेला... । पख्नुस है ।
पात्रहरू यति नै हुन् । तर उनीहरूको कथा बल्ल सुरु हुन्छ ।
साँझ ढल्किँदै थियो । विरही स्वरमा न्याउली कराइरहेको समय थियो । त्यही बेला त हो, सम्हाल्नै नसक्ने गतिमा आएको बसले सुनकोसीमा जलसमाधि लिएको । प्रत्यक्षदर्शी एकले भनेका थिए, ‘बस उधोमुन्टो लगाउँदै खोलातिर तीव्र गतिमा हुत्तियो । झ्याउँकिरीको चर्को आवाजले गाडीभित्रका यात्रुहरू कराएको आवाज सुनिएन । तर पक्का हो, बसको पुठोमा पशुपतिनाथले सबैको कल्याण गरुन् लेखिएको थियो ।’
टाठा पत्रकारहरूले कसरी हो कसरी सबै यात्रुको नाम फेला पारे । ति यात्रुको नाम क्रमशः रेडियोमा बज्यो, अनलाइनमा देखियो, पत्रिकामा छापियो । कसैले यस्तो भनेनन्, सञ्चारमाध्यममा नाम आउनका लागि यिनीहरूले दुःखद मृत्यु रोज्नुपर्‍यो ।
सरकार सक्रिय थियो । घटनालगत्तै प्रहरी पुग्यो । फोटो खिच्यो । मुचुल्का उठायो । तर घटनापछि कुनै मन्त्रीले, कुनै संसद्ले शोक विज्ञप्ति निकालेनन् ।
संसद्मा बोलेनन् । किनकि मर्नेहरू कुनै मेडिकल कलेजका सञ्चालक थिएनन् । कुनै निजी विद्यालयका मालिक, कुनै ब्यापारी वा ठेकेदार थिएनन् । अनि यो घटना भेनेजुयलामा नभएर स्वदेशमै भएको थियो । यद्यपि सरकारले घटनाबारे छानबिन समिति बनाएर आफ्नो जिम्मेवारी निर्वाह गर्‍यो ।
समितिमा विज्ञहरू थिए । उनीहरूसँग घुम्तीले भरिएको साँघुरो पहाडी बाटोमा सार्वजनिक बस चढेको अनुभव थिएन । तर, सबै कुरा अनुभवले गर्ने पनि त होइन । अनुभव नगरिएका विषयमा पनि मान्छे विज्ञ बन्न सक्छ । सायद सरकारले यही सोचेर उनीहरूलाई समितिमा राखेको थियो ।
बडो दुःखले, बडो कष्टले र बडो कुदाकुदपछि समितिले रिपोर्ट निकाल्यो, जसको संक्षेप विवरण यस्तो थियो ।
भाग्यमाया : धूमपान स्वास्थ्यका लागि हानिकारक छ भनेर सरकारले भनेको भन्यै छ । रेडियो र टीभीमा पनि सन्देश बाँडेको बाँड्यै छ । तर, भाग्यमायाले सरकारलाई नै टेरिनन् । उनलाई चुरोट खानु कसले भनेको थियो ? चुरोटले उनको स्वास्थ्य बिगार्‍यो । अनि उनी अस्पताल जान बाध्य भइन् । स्वास्थ्य नबिग्रेको भए, अस्पताल धाउनै पर्दैनथ्यो । अस्पताल नधाएको भए फर्किने बेला बस चढ्ने लेठो नै पर्दैनथ्यो । बस नै नचढेको भए उनी दुर्घटनामै पर्ने नै थिइनन् । नहुनु त भइगयो । समितिले भाग्यमायाप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्ने निर्णय
गरेको छ ।
कर्मप्रसाद : सरकारले पूर्ण साक्षर देश घोषणा गरेको यतिका वर्ष भइसक्यो । आफ्नो हस्ताक्षरमा एकरूपता कायम गर्न नसक्ने कर्मप्रसादजस्ता मान्छे हुनु आजको समयमा लज्जाको विषय हो । खासमा यो घटनामा राम्ररी हस्ताक्षर गर्न नजान्नु नै मृत्युको मुख्य कारण भएको देखियो । किनी हस्ताक्षरमा आत्मनिर्भर हुनु प्रत्येक नागरिकको दायित्व हो ।
हस्ताक्षर फरक नपरेको भए उनलाई सायदै बैंकले बोलाउने थियो । बैंकले नबोलाएको भए उनलाई सदरमुकाम धाउनु पर्दैनथ्यो । नधाएको भए उनलाई सार्वजनिक बस चढेर घर फर्किनुपर्ने थिएन । अनि त दुर्घटनामा उनको मृत्यु हुने नै थिएन । यद्यपि समिति कर्मजीवी कर्मप्रसादको मृत्युमा शोक व्यक्त गर्छ ।
पूर्णबहादुर : वर्षौंदेखि सरकारले घर निर्माणको विशेष मापदण्ड बनाएको छ । मापदण्ड मिचेर घर नबनाएको भए पूर्णबहादुरको घरमा अपूर्ण क्षति हुने थिएन । फेरि भूकम्प आउनुमा सरकारी दोष भन्ने पनि त हुँदैन ।
घर नभत्किएको भए वा भत्किए पनि घरको मूल्यांकन सरकारी टोलीले जे जसरी गर्‍यो त्यसैमा चित्त बुझाएको भए उनलाई सदरमुकाम जानै पर्दैनथ्यो । शास्त्रमा पनि अप्रसन्न चित्त हुनु शुभ कुरा होइन भनेर लेखेको छ । अप्रसन्न चित्त लिएर पुनर्निर्माण प्राधिकरणमा निवेदन दिन उनलाई कसले उकासेको थियो ? उनी आफैं यस संसारमा नभएकाले यसबारे अब छानबिन
गर्नुपर्ने देखिएन ।
त्यसो त उनको गुनासो निवेदन दर्ता गरेर सरकारले आफ्नो कर्तव्य निर्वाह गरेकै थियो । ‘कर्म गर्नू फलको आशा नगर्नू’ भन्ने त शास्त्रीय मत नै छ । पूर्णले शास्त्रविपरीत निवेदन दर्ता गरेपछि पनि बारम्बार सदरमुकाम धाएर ताकेता गर्ने कष्ट उठाए । उनी सदरमुकाम नै नगएको भए बस चढेर फर्किनुपर्ने भन्ने प्रश्न नै हुँदैनथ्यो । बस नचढेको भए उनको दुर्घटनामा मृत्यु हुने तथ्य नै स्थापित हुँदैनथ्यो । अतः समितिले उनको मृत्युमा अप्रसन्न चित्त मुख्य कारण रहेको निष्कर्षमा पुग्दै आत्मशान्तिको कामना गर्छ ।
दुःखीमाया : सेक्सपियरले भनेकै छन्, आखिर नाममा के छ र ? दुःखीमायाले दुःख मान्नुपर्ने कुनै कारण थिएन । दशक लामो जनयुद्ध, दशक लामो संक्रमण पार गरेर जनताको बलिदानीको जगमा संविधान लेखिएको छ । जनताकै सुखका लागि भनेर सरकार रातदिन खटिएको छ । यस्तो समयमा सरकारले उपलब्ध गराएको नागरिकताजस्तो अमूल्य कागजको संरक्षण गर्नु, त्यसको दुरुपयोग हुन नदिनु र हुन खोजेमा त्यसका विरुद्ध सशक्त प्रतिरोध गर्नु प्रत्येक नागरिकको कर्तव्य हुन आउँछ । दुःखीमायाको कमजोरी यही भयो कि उनले सरकारले दिएको अमूल्य नागरिकतालाई सदुपयोग गर्न सकिनन् ।
नागरिकताको महत्त्व बुझेको भए उनीबाट सायदै यस्तो भूल हुने थियो । सायद उनको कमजोरीको फाइदा अपराधीहरूले उठाएका हुनसक्छन् । यद्यपि त्यो निष्कर्षमा प्रहरी पुगिनसकेकाले अहिलेलाई यही नै हो भन्ने ठहर गर्न नसकिने देखिन्छ । तथापि नागरिकताको जतन गरेको भए उनलाई सदरमुकाम धाउनुपर्ने बाध्यता नै पर्दैनथ्यो । सदरमुकाम नधाएको भए उनलाई सार्वजनिक बस चढेर घर फर्किनुपर्ने अवस्था नै हुँदैनथ्यो । अनि सुनकोसीको चिसो पानीमा हेलिँदै, छटपटिँदै आफ्नो प्राण गुमाउनुपर्ने अवस्था निश्चय नै आउँदैनथ्यो । यद्यपि समिति उनको मृत्युबाट दुःखी छ र मृतक परिवारलाई भगवान्ले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामनासम्म गर्छ ।
समितिले यस्तो प्रतिवेदन सार्वजनिक गरेपछि सबैले त्यसको स्वागत गरे । सरकारी समितिको रिपोर्टलाई स्वागत गर्नु प्रत्येक नागरिक, सञ्चारकर्मी, अगुवाहरूको कर्तव्य हुन आउँछ भनेर संविधानमा लेखिएको छैन ।

Page 21
कोसेली

मेरो विमति छ, खगेन्दाइ !

- जीवन क्षत्री

प्रिय खगेन्दाइ,
एउटा लेखकको मानक के हो ? लेखक कस्तो हुनुपर्छ ? जवाफ मसँग थिएन । तर, लेखक भनेको खगेन्द्र संग्रौलाजस्तो हुनुपर्छ भन्नेचाहिं लाग्थ्यो । कान्तिपुरमा हरेक बुधबार आउने ‘बेलाको बोली’ स्तम्भको व्यग्र प्रतीक्षा हुन्थ्यो । त्यो स्तम्भमार्फत म आफैं तपाईंको चेतनाका अन्तरकुन्तर पुगेर आफ्नोभन्दा फराकिलो दृष्टिले संसारलाई हेरेजस्तो लाग्थ्यो । पछि, खासगरी विदेशी स्तम्भकारलाई पढ्न थालेपछि आदर्श लेखकको एउटै मानक नहुँदोरहेछ, लेखक पनि हामीजस्तै गुणदोषयुक्त मानिस रहेछन्, तिनीसँग जगत्का सबै प्रश्नका उत्तर नहुने रहेछन् र तिनले लेखेको कुरा अकाट्य नहुँदोरहेछ भन्ने बोध हुँदै गयो । समयक्रममा तपाईंको स्तम्भ लेखनको ‘बक्रयात्रा’ ले पनि विश्राम लियो ।
खैर खगेन्दाइ, यो त भयो तपाईंसँग म कसरी भावनात्मक रूपमा जोडिएँ भन्ने कुरा । यो टिप्पणीको विषयचाहिं अलिकति फरक छ । तपाईंको अनुवादमा छापिएको याङ मोको ‘युवाहरूको गीत’ उपन्यास पटक–पटक पढेको झन्डै दुई दशकपछि त्यो पुस्तकप्रतिका यहाँका भावना पढ्न पाइयो २१ मंसिरको, ‘कोसेली’ मा । पढ्नासाथ त्यसको जवाफमा केही लेख्नैपर्ने बोध भयो । 
सो पुस्तक कथा र लेखनकौशलका हिसाबले अब्बल त छ नै, म्याक्सिम गोर्कीको ‘आमा’ र निकोलाई आस्त्रोभस्कीको ‘अग्निदीक्षा’ सँगै त्यो पुस्तक यस्तो खजाना हो, जसले तपाईं हामीलाई सपना देख्न सिकाए । चिरकालसम्म यस्तै अभावग्रस्त र अन्यायपूर्ण रहलाजस्तो लाग्ने यथार्थबीच ती पुस्तकले हाम्रो जीवनमा यस्तो प्रकाश छरे, जसको आलोकमा हामीले संसार बदलिनेछ भन्ने विश्वास मात्रै आर्जेनौं, हामीले नै यसलाई बदल्नेछौं भन्ने सपनासमेत देख्न सक्यौं । तपाईं हाम्रो पुस्ताका धेरै मानिसको चेतना निर्माणमा ती पुस्तकले विशिष्ट भूमिका खेलेका छन् । अरू वा संसारको भलाइका लागि लड्नुपर्छ र त्यसका लागि त्याग र बलिदान दिनुपर्छ, अभाव, पीडा र यातना सहनुपर्छ भनेर हामीलाई तिनै पुस्तकले सिकाएका हुन् । तिनमा चित्रित क्रान्तिका कथाले सिकाएका हुन् ।
‘कोसेली’ मा प्रकाशित तपाईंको संस्मरणात्मक निबन्धको निचोड यस्तो छ : नेपाली बाम नेताहरू, जो तपाईं–हाम्रैजस्तो कम्युनिस्ट चेतना र नैतिकताबीच हुर्केका हुन् सत्ता र शक्तिको स्वाद चाखिसकेपछि अब उनीहरूले त्यो सब भुले । अब अर्थ संकलन तिनको एक मात्र ध्येय भयो, सुविधाहरूको उपभोग तिनको जीवनको एक मात्रै सार्थकता । दुवैले तिनलाई भ्रष्ट बनाए । यो अवस्थाका कारण उनीहरूमा ‘युवाहरूको गीत’ की नायिका ताओ चिङको जस्तो क्रान्तिकारी चरित्र त रहेन नै, उक्त उपन्यास अनुवाद गरेर पढाउने खगेन्द्र संग्रौलासित समेत दूरी राख्न विवश अवस्थामा पुगे ।
हाम्रा नेतागणबारे तपाईंले जे भन्नुभयो, त्यसमा विमति जनाउनुपर्ने कारण छैन । तर, तपाईंसँग मेरो विमति ‘युवाहरूको गीत’ छापिँदाताकाको र सन् १९७६ पछिको चीनको चित्रणमा छ । प्रकारान्तरले विश्व कम्युनिस्ट आन्दोलनलाई कसरी हेर्ने भन्ने प्रश्नमा तपाईंसँग मेरो विमति छ । तपाईं लेख्नुहुन्छ ः ‘युवाहरूको गीत’ प्रकाशित भएको सुखद साल हो सन् १९५८ । सन् १९५९ मा चिनियाँ क्रान्तिको दसौं वार्षिकोत्सवको औसरमा यस उपन्यासमा आधारित फिल्म सार्वजनिक भयो ।... जब सन् १९७६ आयो, याङ मो र ‘युवाहरूको गीत’ का दुःखका दिन सुरु भए । उक्त साल, सनातनी क्रान्तिकारीहरूको आक्षेपकारी भाषामा, शासनको बागडोर पुँजीपन्थीहरूका हातमा पर्‍यो । त्यसपछि के भयो ? चतुर शासकको कालो बिरालो र सेतो बिरालोको कथनले बजार पिट्यो । अब व्यक्तिवादले टाउको उठायो । संस्कृतिमा स्वार्थी प्रतिस्पर्धा हावी भयो ।...’
प्रिय खगेन्दाइ, चीनमा भएको क्रान्ति र प्रतिक्रान्तिबारे यस्तो व्याख्या मैले पहिलोपल्ट सुनेको कक्षा ८ पढ्दा हो । नेकपा मसालको ‘लाल किल्ला’ भनिने बागलुङको हाम्रो स्कुलमा सहपाठी साथी तथा नेता नरबहादुर केसीले हामीलाई यस्तो दिव्यज्ञान बाँड्थे । सर्वहारा क्रान्तिमार्फत संसार बदल्ने हाम्रो सामूहिक संकल्पको केन्द्रमा भएका उनीसँग हरेक प्रश्नको उत्तर छजस्तो लाग्थ्यो हामीलाई । वामपन्थ असल, दक्षिणपन्थ खराब ! साम्यवाद असल, पुँजीवाद खराब ! त्याग असल, उपभोक्तावाद खराब ! जीवन र जगत्का यावत् समस्याको श्यामश्वेत र अकाट्य उत्तर हामीले पाएको त्यही बेलादेखि हो ।
हाम्रो त्यो निर्दोष वैचारिक पाठशालामा पहिलो धक्का तब लाग्यो, जब स्कुल सक्दानसक्दै जीविकाको कठोर यथार्थले साथी नरबहादुर र उनीजस्ता धेरै कमरेडहरूलाई आफैं भारतीय सेनामा भर्ती भएर ‘विस्तारवाद’ को सेवा गर्न विवश तुल्यायो । दोस्रो धक्का तब लाग्यो, जब कक्षा १२ पछि मैले सनातनी वाम साहित्यबाहिरका सामग्रीबाट सोभियत संघ र साम्यवादी चीनबारे पढेर बुझ्न थालें । 
तपाईंले सुखद भनेको सन् १९५८ मा चीनमा के भइरहेको थियो ? चीनमा माओत्सेतुङको नेतृत्वमा ‘साम्यवाद’ स्थापना भएको दशक बित्ने संघारमा थियो । युरोप र एसियाको विशाल भूभागमा ‘कम्युनिस्ट’ सोभियत संघ स्थापना भइसकेको अवस्थामा भूभाग र जनसंख्या दुवै हिसाबले ठूलो चीनमा उस्तै व्यवस्था आएकाले पश्चिममा स्थापित पुँजीवादी अर्थ प्रणालीले कडा चुनौतीको महसुस गरिरहेको थियो । संसारभरका विचारक र राजनीतिज्ञहरू अमेरिकाको जस्तो पुँजीवाद ठीक कि सोभियत संघ र चीनको जस्तो साम्यवाद ठीक भन्ने अन्योलसहित दुई ध्रुवमा विभाजित थिए । सन् १९५३ मा जोसेफ स्टालिनको मृत्यु भएयता कम्युनिस्ट विश्वको सर्वेसर्वा नेता हुने माओको इच्छा चुलिएको थियो । त्यसका लागि चीनको अर्थतन्त्रको सोभियत संघलाई नै उछिन्ने गरी तीव्र विकास अनिवार्य थियो । तर, झन्डै शताब्दीभर विदेशीहरूको हस्तक्षेपले थिल्थिलो भएको चीन सन् १९२७–४९ को लामो गृहयुद्धका कारण हरितन्नम अवस्थामा पुगेको थियो । संरक्षकबाट प्रतिस्पर्धीमा दरिँदै गरेको सोभियत संघबाट आउने सहयोगले सीमित मात्रै प्रभाव पार्न सक्थ्यो भने सन् १९४९ को क्रान्तिसँगै बाँकी विश्वसित चीनको सम्बन्ध करिब विच्छेदित थियो । त्यो अवस्थामा चीनको तीव्र आर्थिक विकास हातले पहरो फोड्नुजस्तै थियो । ढल्दो सामन्तवादको गर्भबाट पुँजीवाद जन्मेजस्तै परिपक्व भएर ढल्दो पुँजीवादको गर्भबाट मात्रै समाजवाद जन्मन सक्छ भन्ने मार्क्सको दर्शन र प्रक्षेपण थियो । तर, लेनिन नेतृत्वमा स्थापित सोभियत संघले रुसी समाजलाई सामन्तवादबाट ‘साम्यवाद’ सम्मको छलाङ लगाएर मार्क्सको त्यो दर्शनलाई चुनौती दिएको थियो । रुसी क्रान्तिमा मार्क्सले परिकल्पना गरेझैं औद्योगिक मजदुरहरू हर्ताकर्ता थिए भने माओले चलाएको चिनियाँ क्रान्तिमा त मार्क्सले तिरस्कारपूर्वक क्रान्तिकारी चेतनाविहीन ‘आलुको बोरा’ भन्ने गरेका गरिब किसानहरूले मुख्य भूमिका खेलेर क्रान्ति सम्पन्न गरेका थिए । त्यसैले मानिस जातिका इतिहास र अनुभवजन्य सीमाहरू माओलाई मिथ्या लाग्थे । इच्छाशक्ति र सही कार्यक्रम भए असम्भव केही पनि थिएन । कार्ल मार्क्सले देखाएको साम्यवादसम्मको लामो र दुरूह यात्राका लागि धैर्य नहुने संसारभरका कम्युनिस्टहरूले मार्क्सवादका पछाडि लेनिनवाद र माओवादको फुर्को लगाएर छोटो बाटोबाट आफ्नै जीवनकालमा ‘आदर्श’ साम्यवादी राज्य निर्माण गर्ने सूत्र पछ्याए । मार्क्सवादमा जुन काम ९ महिना नपुग्दै बच्चा जन्माउनेजस्तो असम्भव वा प्रत्युत्पादक प्रतीत हुन्थ्यो, माओवादसम्म आउँदा त्यो काम कम्युनिस्ट पार्टीहरूको क्रान्तिकारिताको मानक बन्न पुग्यो । 
असम्भवलाई सम्भव पार्दै पहिले सोभियत संघलाई आर्थिक रूपमा पछि पार्ने अनि पश्चिमा विश्वलाई पनि माथ ख्वाएर संसारभर आफ्नो नेतृत्वमा अकण्टक साम्यवाद स्थापना गर्ने माओको महत्वोन्माद वा ‘मेगालोमेनिया’ को सुरुआती वर्ष थियो सन् १९५८ । त्यस वर्ष सुरु भएको महान् फड्को वा ‘द ग्रेट लिप फरवार्ड’ का ५ वर्ष विश्व इतिहासमै ठूलो भोकमरीका लागि चिनिन्छन् । त्यसरी मर्ने चिनियाँहरूको संख्या १ करोड ८० लाखदेखि ४ करोड ५० लाखसम्म रहेको मानिन्छ । तीमध्ये ठ्याक्कै कति माओको आर्थिक नीतिका कारण मरेका हुन्, तीमध्ये राजनीतिक हिंसाकै कारण मर्ने कति थिए भन्ने विवाद अद्यापि कायम छ । तर, माओकालीन चीनका दस्तावेजहरूको अध्ययन गरेर साढे चार करोड मृत्युको आँकडा निकाल्ने हङकङ विश्वविद्यालयका इतिहासकार फ्र्यांक डिकोटरको अनुमान त्यस्तै अध्ययन गर्ने अन्य चिनियाँ लेखकहरू याङ सिसेङ (३.६ करोड), चेन यिजी (४.३ करोड) र यु सिग्वाङ (५.५ करोड) को अनुमानसँग मेल खान्छ ।
यसरी मारिने चिनियाँहरूमध्ये धेरै माओ वा उनको लालसेनाबाट मारिएका पक्कै होइनन् । मानिसहरूलाई मार्नुपर्ने वा उनीहरू मारिने अवस्था सिर्जना गर्नुपर्ने कारण पनि माओसँग थिएनन् । तर, सामन्तवादबाट साम्यवादमा छलाङ मारेजस्तै कंगाल मुलुकबाट विश्वकै समृद्ध मुलुकमा छलाङ मार्न उनले अँगालेको आर्थिक नीतिका कारण प्रलयकारी भोकमरी भएको थियो । जमिनको सामूहिकीकरण र ‘कम्युन’ को निर्माण त्यो नीतिको पहिलो कदम थियो । हजारौं वर्ष अनेक वंशका साम्राज्यकालमा किसानसित रहँदै आएको, उनीहरूको भावना र पहिचानसित जोडिएको जमिन एकाएक राज्यको भयो । आफ्नो ‘जिन’ मै जमिन खोस्रेर अन्न उब्जाएर खाने अवधारणा बसेका चिनियाँहरू एकाएक पार्टीका लागि खेती गरिदिने र उसले तोकेको अन्न उसैले तोकेजति गाँस खान पाउने प्राणीमा बदलिए । मानव जीविकाको यस्तो आदिम उपकरण हातमा पर्नासाथ माओको कम्युनिस्ट पार्टीले कम्युनहरूलाई उडन्ते अनुमान र महत्त्वाकांक्षाका आधारमा अन्न उत्पादनको असम्भव रूपमा उच्च लक्ष्य दिन थाल्यो । माथिल्लो कमिटीलाई खुसी पार्न तल्लो कमिटीले यथार्थ उब्जनीभन्दा निकै बढीको आँकडा माथि दिने र कागजी ‘सर्प्लस’ सिर्जना गर्ने थिति बस्यो । मिथ्या रेकर्ड रिपोर्टिङ गर्ने त्यो सिल्सिला पार्टीको गाउँ कमिटीबाट सुरु भएर अध्यक्ष माओसम्मै पुग्थ्यो । जब पार्टीका कमरेडहरू अन्न संकलनका लागि आउँथे, काम गर्ने किसानको छाक टार्ने अन्न पनि नछाडी लैजान्थे । किनकि पहिले दिइएको हावादारी लक्ष्यअनुसार, अन्न नपुग्दा उनीहरू आफैं निसाना बन्थे । जहाँ ‘सर्प्लस’ तोकिएको जमिनमा खडेरी वा अन्य प्राकृतिका कारणले किसानलाई नै पुग्ने अन्न उब्जेको हुँदैनथ्यो, त्यहाँका किसानहरू ‘प्रतिक्रान्तिकारी गद्धार’ घोषित हुन्थे र उनीहरूमाथि हिंसा हुन्थ्यो । आदेश जति केन्द्रबाट आउने, तिनको कार्यान्वयनको विवरण मात्रै भुइँ तहबाट माथि पुग्ने एकतर्फी सूचना प्रवाहका कारण चार–चार वर्षसम्म यो दुश्चक्र चलिरह्यो । यस्तो बौलठ्ठीपनविरुद्ध आवाज उठाउने पार्टी सम्बद्ध विवेकशील मानिसहरूसमेत गद्दार घोषित भएर सफायामा परे ।
पाँच वर्षपछि यस्तो गलत आर्थिक नीतिका दुष्परिणाम बेवास्ता गर्नै नमिल्ने भए । अर्थतन्त्रले सोभियत संघलाई उछिन्नु त कताकता, उल्टै यसै निम्छरो चिनियाँ अर्थतन्त्रको आकार नै खुम्चिन पुग्यो । जनसंख्याको ५ प्रतिशत जति मानिस भोकमरीमा मरे भने चीनको ६०० वर्षको इतिहासमा पहिलोपल्ट १९६० र ६१ बीचमा जनसंख्या घट्न पुग्यो । यस्तो अवस्थामा पार्टीभित्रै विरोधी आवाजहरूको गुन्गुनाहट सुनिनु स्वाभाविक हो । महान् फड्कोको दौरानमा भएका कमजोरी स्विकारेर नीति बदल्नुको सट्टा माओले केही वर्षको अन्तरालमा भिन्न मतलाई निमिट्यान्न पार्न दशक लामो विनाशकारी सांस्कृतिक क्रान्तिको तानाबाना बुने । राजनीतिक हिंसा र बर्बरताको परिष्कृत शृंखला सन् १९७६ मा माओको मृत्यु भएपछि मात्रै रोकियो ।
प्रिय खगेन्दाइ, वाम वृत्तमा श्रद्धापूर्वक पूजा गरिने सांस्कृतिक क्रान्तिका अगाडि मैले विनाशकारी शब्द लगाउँदा तपाईंमा कस्तो भाव उत्पन्न हुन्छ, म जान्दिनँ । तर, तपाईंको जस्तो बागी चेतना भएको मानिसले सन् २०१९ मा उभिएर त्यो समयका यावत् क्रूरताहरूका वस्तुगत विवरणसहितका सामग्रीहरू पढ्नुभएन होला भनेर विश्वास गर्न मलाई गाह्रो छ । ती पढिसकेपछि सांस्कृतिक क्रान्तिलाई पार्टीका कमरेडहरूले जस्तै प्रश्न र संशयको घेराभन्दा माथि राख्नुहुन्छ भनेर कल्पना गर्न पनि मलाई गाह्रो छ । 
सन् १९७६ मा माओको मृत्युपछि चीनमा के भयो ? देङ स्याओ पिङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले प्रतिस्पर्धी मानिने पश्चिमा पुँजीवादी लोकतन्त्रहरूबाट पुँजीवादचाहिं भित्र्याए, लोकतन्त्रमाथिको निषेधलाई कायम राखे । महान् फड्कोका प्रलयकारी परिणाम छताछुल्ल भएको बेला सन् १९६२ मै देङले भनेका थिए, ‘जबसम्म बिरालोले मुसा मार्छ, तबसम्म त्यो कालो वा सेतो भएर केही फरक पर्दैन ।’ माओको मृत्युपछि सो उक्तिलाई चरितार्थ गर्दै उनले चीनमा लगानीका लागि संसारभरको पुँजीको बाटो खोलिदिए । युरोप र अमेरिकाभन्दा बीसौं गुणा कम ज्यालामा काम गर्ने चिनियाँ कामदारहरू लगाएर शीघ्र नाफा कमाउन खोज्ने लगानीकर्ताहरू कुँडुलो लागेर चीन आए । कर छुट र अन्य सुविधासहितका विशेष आर्थिक क्षेत्रहरूका कारण कुनै बेलाका अनकण्टार गाउँहरू एकाध वर्षमा अत्याधुनिक महानगर बने । कलकारखानाहरू चीनमा भित्रिएसँगै रोजगार मात्रै भित्रिएन, ज्ञान र प्रविधि पनि भित्रियो ।
खगेन्दाइ, तपाईंले १९७६ पछिको चीनलाई व्याख्या गर्न चारवटा विशेषता प्रयोग गर्नुभएको छ ः व्यक्तिवाद, स्वार्थी प्रतिस्पर्धा, लोभ र विलासिता । यी चार शब्दबिना त्यो समयको सही चित्रण हुन सक्दैन । तर, यथार्थको अर्को पाटो के हो भने विश्व बैंकका अनुसार, चीनमा निरपेक्ष गरिबहरू (दिनमा १.२५ डलरभन्दा कम खपत गर्नेहरू) को संख्या सन् १९८१ मा ८३.५ करोड रहेकोमा २००८ मा आउँदा १७.३ करोडमा झरेको थियो । अर्थात् ती १७ वर्षको अवधिमा ६६ करोड चिनियाँहरू निरपेक्ष गरिबीको रेखा पार गर्न सफल भए । आजका दिनसम्म आउँदा त्यसरी गरिबीको रेखा पार गर्ने चिनियाँहरूको संख्या ८५ करोड नाघेको छ । दशकौंको तीव्र आर्थिक वृद्धिका लागि चीनले चर्को असमानता र तीव्र पर्यावरणीय स्खलनजस्ता मूल्य चुकाएको पक्कै छ । तर, जुनसुकै तर्क लगाए पनि १९७६ अगाडिका चिनियाँ शासक माओलाई नायक र त्यसपछाडिका देङलगायतका नेताहरूलाई खलनायकका रूपमा चित्रण गर्नु भनेको यसबीच निरपेक्ष गरिबीको घेरा नाघेका तथा समृद्धि हासिल गरेका झन्डै एक अर्ब चिनियाँहरूको भावना र संवेदनालाई निषेध गर्नु हो । 
प्रिय खगेन्दाइ, कक्षा आठमा साथी नरबहादुरबाट प्राप्त वैचारिक विरासत त्याग्न मैले लामो समय संघर्ष गरें । माओ र स्टालिनका बर्बरतासम्बन्धी यावत् सामग्रीहरू पढ्दा पनि मलाई त्यो विरासत त्यागिहाल्न सहज भएन । तर्क एकातिर हुन्थे, मेरो भावना अर्कैतिर । तर, एक दिन इतिहासको यस्तो क्षणबारे पढें, जसले मलाई ‘हामी कम्युनिस्ट, कम्युनिस्ट महान्’ भन्ने जीवन दर्शन त्याग्न सहज बनाइदियो । त्यो क्षण थियो ९ नोभेम्बर १९३२ को साँझ । नादेझ्दा अलिलुएभा नामक ३२ वर्षे महिलाले त्यस साँझ कञ्चटमा गोली हानेर आत्महत्या गरिन् । ती थिइन्— जोसेफ स्टालिनकी पत्नी । सर्वहारा शासनबारे आफूले देखेको सुन्दर सपनाको कुरूप पटाक्षेप असह्य भएपछि उनले आत्महत्या गरेकी थिइन् ।
अन्तमा, बितिसकेका कुरामा यति साह्रो घोत्लिनु किन ? ‘हामी कम्युनिस्ट, कम्युनिस्ट महान्’ भन्ने रुढी मन्त्र जप्नुको सट्टा स्टालिन र माओ शासनको क्रूर र प्रलयकारी यथार्थबारे प्रचण्ड र बाबुरामहरू समयमै घोत्लिएको भए सायद आज १७ हजार थप नेपाली जीवितै हुन्थे । कति फरक पार्छ इतिहासको सही पठनले ?

Page 22
कोसेली

चुनाव हारेपछि किताब लेखें

किताब वार्ता
- कान्तिपुर संवाददाता

६ पटक अर्थमन्त्री भइसकेका रामशरण महत हाल व्यवस्थापिका संसद्मा छैनन् । हालै उनको ॅट्रायल ट्रेमोर्स एन्ड होप– द पोलिटिकल इकोनमी अफ कन्टेम्पररी नेपाल’ किताब प्रकाशित छ । नयाँ किताब र अर्थराजनीतिक विषयमा केन्द्रित भएर कृष्ण आचार्यले महतसँग कुराकानी गरेका छन् :

 

यो किताब किन लेख्नुभएको ?
म केटाकेटिदेखि नै अर्थव्यवस्थामा चासो राख्ने मान्छे हुँ । सन् २००५ मा राजाले सत्ता कब्जा गरेपछि हाम्रो फुर्सदको दिन सुरु भयो । त्योबेला ‘इन डिफेन्स अफ डेमोक्रेसी’ किताब लेखेँ । राजाले ‘डमोक्रेसी’ कै बद्नाम गरेपछि मैले त्यसलाई ‘काउन्टर’ दिन पुस्तक लेखेको थिएँ । अमेरिकाको न्यु मेक्सिको युनिभर्सिटीले त्यो किताब विकासोन्मुख मुलुकको अर्थराजनीतिक विषयलाई ‘केस स्टडी’ अध्ययन गर्न पाठ्यक्रममा राखेको छ । यसपटक नुवाकोटबाट संसदीय चुनावमा हारेपछि फुर्सदको समय उपयोग गर्न अर्को किताब लेखौँ भन्ने लाग्यो । नेपालको वर्तमान अर्थव्यवस्था कसरी अगाडि बढिरहेको छ ? के उतारचढाव आइरहेका छन् ? कमी–कमजोरी के छन् ? अहिलेको सत्ताले कहाँ–कहाँ सुधार गर्नुपर्छ ? भन्ने विषयमा यो किताब लेख ।

तपाईं अर्थमन्त्री भएको बेला निजी क्षेत्रलाई अधिक सुविधा दिनुभयो र सरकारी संस्थान कौडीको भाउमा निजीकरण गर्नुभयो भन्ने आरोप छ । तर, तपाईंले किताबमा यसबारे प्रस्टसँग लेख्नुभएको छैन नि ?
ज्ञान नभएका मानिसहरू मलाई त्यो आरोप लगाउँछन् । कौडीको भाउमा मैले नै बिक्री गरेको हुँ र ? निजीकरणको काम भएको बेला म योजना आयोगमा थिएँ । तर, म निजीकरणको नीतिको पक्षमा थिएँ ।
वस्तुको भाउ बजारले निर्धारण गर्छ । प्रतिस्पर्धा गराएर, बजारले निर्धारण गरेको मूल्यमा निजीकरण भएको हो । ती उद्योग निजी क्षेत्रले पनि सञ्चालन गर्न सकेनन्, घाटा भइरह्यो । तर, निजी क्षेत्रलाई ठाउँ दिएपछि अन्य उद्योग खुल्न थाले । सरकारको एउटा चिनी उद्योग बन्द भयो, दर्जनौं अरू चिनी उद्योग खुले । एउटा छाला–जुत्ता कारखाना बन्द भयो, अहिले पचासौँ छाला–जुत्ता उद्योग खुले । विदेशमा समेत निर्यात भइरहेको छ । निजी उद्योगले सरकारी ढुकुटीमा पैसा पनि बुझाएका छन् ।
त्यो नीति गलत भएको भए लगानी वृद्धि भन्दै अहिले सरकार किन ठूलो–ठूलो स्वरमा कराइरहेको छ ? नेपालमा ढुक्क भएर लगानी गर्नुस् भनेर प्रधानमन्त्रीलगायत सबैजना भाषण गरेर हिँडिरहेका छन् । हामीले जुन नीति लिएका छौँ, त्यसलाई हाम्रा अलोचकले पनि अपनाइरहेका छन् । भारत, बेलायतमा मात्रै होइन, चीनजस्तो मुलुकमा समेत ६० हजार उद्योग निजीकरण भएको छ भनेर किताबमा लेखेको छु ।
बजार अर्थतन्त्रमा विश्वास गर्नेमध्ये सबैभन्दा ठूलो मुलुक चीन हुँदै छ । नेपालमा पनि निजीकरणले सरकारको राजस्व बढाएको छ । यो रकम देशको पूर्वाधार विकास, गरिबी निवारण, समाजिक विकास, पछाडि परेका वर्गका लागि खर्च गर्न सजिलो भएको छ ।

समाजवाद, उदारवाद र बजार अर्थतन्त्रको कुरा गर्दा एडम स्मिथ, डेबिड ह्युम, जोन लोकजस्ता शास्त्रीय उदारवादीहको चर्चा किताबमा उल्लेख छैन !
हरेक विषयको चर्चा जरुरी हुँदैन । समाजवादको अवधारणा कसरी सुरु भयो र अहिले यसले कसरी आकार लिएको हो भनेर किताबमा चर्चा गरेको हुँ । मैले चर्चा गरेको नीति सारा संसारले अँगालेको छ । नेपालका माओवादीले पनि समाजवाद भन्ने, अमेरिकाको वर्नी स्यान्डर्सले पनि समाजवाद भन्ने ? समाजवादलाई आ–आफ्नो ढंगले व्याख्या गर्ने काम भएको छ । तर, अहिलेको समाजवाद प्रजातान्त्रिक नीति नै हो, छ । जस्तो विश्वेश्वरप्रसाद कोइराला प्रजातन्त्र पनि चाहिन्छ, राजनीतिक र आर्थिक सन्तुलन चाहिन्छ भन्नुहुन्थ्यो । अवधारणा कसरी विकसित हुँदै आयो र सही अवधारणा के भन्ने मुख्य कुरा हो । हिजोको समाजवादको र आजको बजार अर्थव्यवस्थाको सकारात्मक पक्ष चाहिन्छन् । दुवैतिरका कमजोर पक्ष हटाउनुपर्छ भनेको हुँ ।

किताबको दोस्रो खण्डमा बीपीको समाजवादको चर्चा गर्नुभएको रहेछ नि !
बीपीको कुरा मात्रै छैन । नेपालको सन्दर्भमा समाजवादको पहिलो कुरा बीपीले गर्नुभएको हो । नेपाली कांग्रेसले सत्तामा आउँदा के गर्‍यो ? सामाजिक विकासका काम के–के गर्‍यो ? हामीलाई आलोचना गर्नेका गल्ती के थिए भनेर लेखेको छु ।

बीपी विचारधारको श्रेय लिन खोज्नुभएको हो ?
बीपी र कांग्रेसको दृष्टिकोणले मात्रै होइन, समग्र देशकै कुरा लेखेको छु । हामीले लिएका जुन नीति सही थिए, त्यसमा श्रेय लिनु स्वाभाविक हो । पार्टीका कुरा मात्रै लेखेको होइन । समाजवादको नीति के भनेर लेखेको हो । आफ्नो विचारधाराभन्दा माथि उठेर किताब लेख्नुपर्छ । नेपालमा आर्थिक सुधार कसरी सुरु भयो भन्दा सन् १९९० मा हामीले ल्याएको विचारधारा नै थियो । यसलाई हामीले ठीक भनेका छौँ । नेपालको रेमिट्यान्स अर्थतन्त्र, जलस्रोतको विकासको सन्दर्भ पनि छ यसमा ।

अर्थतन्त्रको नीतिगत तहमा लामो समय तपाईंले नै नेतृत्व गर्नुभयो । तर, विगतका हाम्रो कमजोरीको विषयमा धेरै चर्चा भेटिएन !
गरेको छु । माओवादीले अर्थतन्त्र कसरी ध्वस्त पार्‍यो भनेर लेखेको छु । माओवादीले १० वर्षसम्म र त्यसपछि पनि ६/८ महिना राजनीतिक अस्थिरता ल्याउने काम नगरेको भए मुलुक धेरै माथि जान्थ्यो । राजनीतिक अस्थिरता र द्वन्द्वले हामी धेरै पछाडि पर्‍यौं ।

माओवादीलाई मात्रै दोष लगाउने कुरा भयो नि यो त ?
त्यसोभए, माओवादीले ठीक गर्‍यो भनेर प्रशंसासहित लेख्नुपर्‍यो त !

कांग्रेसका पनि कमजोरी थिए होलान् ?
कांग्रेसमा मात्रै केन्द्रित भएर किताब लेखेको होइन । समग्रमा कमजोरी भनेको तीव्र राजनीतिक ध्रुवीकरण हो । दलीय राजनीति बढी भयो, उत्पादनमा ध्यान दिएनौँ । भाषणबाजीमा मात्रै ध्यान छ । पार्टीसँग नजिक भएको मान्छेलाई मात्रै अदालत, संवैधानिक निकाय र कर्मचारीतन्त्रमा राखियो । राजनीतिमा मात्रै ध्यान भयो, अर्थतन्त्रलाई भाषणमा मात्रै सीमित पारियो । व्यवहार र आचरणमा राजनीतिक रूपमा बलियो हुने काम गरियो । विद्यालय व्यवस्थापन समितिमा समेत पार्टीगत चुनाव हुने वातावरण बनायौँ । रेलका ठूला कुरा गर्ने तर काठमाडौंको सडकको हालत नहेर्ने काम भएको छ । यी सबैबारे अन्तिम खण्डमा लेखेको छु ।

यी सबै काम गर्न कांग्रेसले लामो समय सत्ता पाएको थियो त !
कांग्रेसका कमजोरी के, अर्कोको कमजोरी के भन्न खोजेकै होइन । देशमा घटना भए । त्यसको उथलपुथýलले के परिणाम ल्यायो ? माओवादी द्वन्द्व, शान्तिप्रक्रिया र संविधान निर्माणमा के–के भयो ? संविधान कस्तो छ ? संविधान कार्यान्वयन गर्ने चुनौती के–के छन् ? भूकम्पले हम्रो अर्थतन्त्रलाई के गर्‍यो भन्ने विषयमा केन्द्रित भएको छु ।

तपाईं अर्थमन्त्री हुँदा गठन भएको कर फर्स्योट आयोगको विषय पनि केही लेख्नुभएको रहेनछ !
सबै विषय किन लेख्ने ? कर फर्स्योट आयोग संसारमा जहाँ पनि व्यवस्था गरिएको हुन्छ । कर अधिकृतले गरेको काम चित्त बुझेन भने अदालत जाने, त्यहाँ दसौँ वर्ष लाग्न सक्छ भनेर सरकारले कानुन बनाएर अधिकारसम्पन्न आयोग बनाउने चलन छ । नेपालमा पनि कानुनअनुसार आयोग बनेको हो । मलाई स्वार्थवश विवादमा ल्याइएको हो । तपाईंहरूले निकाल्नुभएको रिपोर्ट पनि पूर्वाग्रही छ । मन्त्रालयमा शुद्ध ढंगले काम गरेको मान्छे हुँ म । यदि कसैले भ्रष्टाचार गरेको भए छानबिन गरे हुन्छ । सम्पत्ति हेर्ने कानुन छ ।

तपाईंचाहिँ कस्ता पुस्तक पढ्नुहुन्छ ?
धेरै पढ्न भ्याउँदिनँ । अर्थव्यवस्थामा चासो राख्ने भएकाले समय हुँदा आफ्नै विषयका पुस्तक पढ्छु । नेपालकै सन्दर्भमा नयाँ पुस्तकमा कहिलेकाहीं ध्यान जान्छ ।

अर्थ राजनीति विषयमा तपाईंलाई राम्रो लागेको कुनै पुस्तक ?
जोसेफ स्टिग्लिट्जको ‘पिपुल पावर एन्ड प्रोफिट’ निकै राम्रो लागेको किताब हो । नोबेल पुरस्कार विजेता उनी ‘लिबरल’ व्यक्ति हुन् । अहिले रिपब्लिकन पार्टीको खिलाफमा छन् । उनले लेखेको किताबको मुख्य उद्देश्य बजारबाट फाइदा लिनु भन्ने हुन्छ । फाइदा पिपुलका लागि हुनुपर्छ, बजारको उद्देश्य पिपुलको पक्षको हुनुपर्छ भन्ने यो पुस्तकको उद्देश्य हो ।
अर्को मन परेको पुस्तक ‘सिभिलाइजेसन : द वेस्ट एन्ड द रेस्ट’ हो । हावर्ड विश्वविद्यालयका प्रोफेसर नियाल फर्ग्युसन हुन्— लेखक । उनको किताबको केही कुरा मैले मेरो पुस्तकमा पनि लखेको छु । उनले ६ सय वर्षअगाडिसम्म पूर्वीयाहरूको सभ्यता पश्चिमाहरूको भन्दा धेरै माथि थियो भनेर लेखेका छन् । पश्चिमाको सभ्यता ६ सय वर्षयता निकै माथि गएको उनको किताबमा उल्लेख छ । यसपछाडि ६ वटा कारणको व्याख्या छ । कानुनी शासनको प्रजातन्त्र, बजारका लागि देश मात्रै होइन, विज्ञानको प्रयोग, औषधि उपचारमा उच्च गुणस्तर र प्रविधिको विकास, काम गर्ने कल्चर र बाँच्नका लागि काम होइन, काम गर्नका लागि बाँच्ने भनी लेखेका छन् किताबमा ।

सरकारले किताबको आयातमा १० प्रतिशत भन्सार महसुल लगाइदिएको छ । यसमा तपाईंको धारणा के छ ?
यो गलत काम हो । अर्थमन्त्री हुँदा मैले पनि एकपटक पुस्तक आयातमा कर लगाउन खोजेको थिएँ । युनेस्कोले पुस्तक आयात–निर्यातमा भन्सार महसुल लगाउन पाइँदैन, शून्य भन्सार महसुल हुनुपर्छ भनेको रहेछ । यो थाहा पाएपछि फिर्ता लिएँ । नेपालका छपाइ उद्योगको संरक्षणका लागि यो काम गरिएको भनिएको छ । यदि उनीहरूलाई प्रोत्साहन गर्ने हो भने, कागज आयातमा भन्सार छुट दिँदा हुन्छ । विदेशबाट आउने पुस्तकलाई कर लगाउन हुँदैन ।

कोसेली

डोल्पाका हामी केटाकेटी

- हेमन यात्री

उपल्लो डोल्पाको प्रख्यात गन्तव्यको नाम हो— फोक्सुन्डो ताल । यही फोक्सुन्डो तालबाट निकास भएर बग्ने पानी फोक्सुन्डो खोलाको नामले बगेर झर्छ । फोक्सुन्डो तालबाट करिब दुई–तीन किलोमिटर तेर्सो–ओरालो बगेर हामफाल्दै झर्छ पहिरोमा । ताल पुग्नुभन्दा अघिको अन्तिम बिसाउनीबाट एकसाथ देखिन्छन् आकाशको छाया खसेजस्तो नीलो ताल र पहिरोबाट हाम्फालेर खस्दै गरेको सेतो झरना । ताल पुग्नुभन्दा अघिको अन्तिम उकालो बाटाको टुंग्याउनीबाट झरना देखिने भएकाले त्यस ठाउँलाई झरना भनिँदो रहेछ । अघिसम्म खोला भएर बगिरहेको फोक्सुन्डोको पानी, करिब पाँच सय मिटरभन्दा लामो पहिरो भेटेपछि एक्कासि फोक्सुन्डो झरनाको रूपमा बद्लिन्छ । क्षणभरमै खोलाबाट झरनामा परिणत भएको पानीले एक छिनसम्म त आँखालाई अन्त भाग्नै दिँदैन । आधा बिहानको उकालो छिचोलेपछि भेटिने झरनामा नरोकिने को होला र ? पर देखिएको मनमोहक फोक्सुन्डो तालले लोभ्याए पनि झरनालाई चटक्कै छाडेर भाग्नै नसकिने बनाइदिन्छ । गहिरो खोँचमा बजारिएपछिको झरनाको आवाजसँगै आइपुग्ने चिसो बतासले छिनभरमै शरीरको पसिना सुकाइदिन्छ । यस झरनालाई पृष्ठभूमि बनाएर दुई–चार सेल्फी नहानी हिँड्ने यात्री फोक्सुन्डो ताल पुग्नै सक्दैन भने पनि हुन्छ । गएको असार महिनाको पहिलो हप्ता फोक्सुन्डो काव्य यात्राले बताएको मेरो अनुभवले यही भन्छ ।
पहिरोमा उफ्रिन पाएसम्म न हो झरना । पहिरो सकिएपछि त बग्नैपर्‍यो । झरनाले छिनमै खोलाको आकार लिन्छ । र, बिस्तारै बग्न थाल्छ ओरालो । खोंचमा केही किलोमिटर एक्लै बगेपछि तल गाउँमा देखापर्छ फोक्सुन्डो । सायद गाउँमा यही फोक्सुन्डो खोलाको भरोसामा गाउँलाई त्यहाँ बस्न मन लागेको । नत्र त यो हिमाली भेगमा पानीको मूल भेट्नै मुस्किल पर्छ । पानी नभएको ठाउँमा बस्ती बस्ने कुरै भएन । माथिल्लो डोल्पाका तीन गाउँपालिकामध्ये शे–फोक्सुन्डो गाउँपालिका हो एउटा । यही शे–फोक्सुन्डोको एउटा स्यानो गाउँ हो साइजल ।
तीनतिर हिमालले बार लगाएर सुरक्षा दिएको छ साइजललाई । दक्षिणतिर फोक्सुन्डो खोलाको बाटो । साइजल पुग्दा असारको झरी परेर रोकिएको थियो । झरीपछिको खुला आकाशमुनिको गाउँ विछट्टै सुन्दर देखियो । वरिपरि पहाडले घेरिएको । पहाडभन्दा माथि हजुरबाको फुलेको कपालजस्तो सेतै देखिन्थे हिमाल । साँझपखको असारे घाम कताबाट निस्केर हो, हिमालको टुप्पोमा टल्किन पुगेको थियो । त्यस दिन हिमालमुनिको स्यानो उपत्यका साइजलभन्दा माथि पुग्नु थिएन हामीलाई । त्यसो त हिमालमाथि टल्किएको घामले पनि यहाँभन्दा अघि नबढ्नु भन्ने संकेत दिइरहेको थियो ।

साइजलमा नमुना विद्यालय
तापिरिचा मावि, अपर डोल्पाको तीनैवटा स्थानीय तहमा एउटा मात्रै माध्यमिक विद्यालय हो । शे– फोक्सुन्डो गाउँपालिका–८, साइजलस्थित सञ्चालनमा रहेको छ विद्यालय । अपर डोल्पाको सरकारी विद्यालयहरू रित्तोरित्तो भए पनि, साइजलको तापिरिचा मावि सानदार ढंगले चलिरहेको छ । त्यो पनि पूरापूरा अंग्रेजी माध्यममा । निर्माणाधीन केही भवनसहित विद्यालयको व्यवस्थित भौतिक संरचना, दक्ष शिक्षक, अनुशासि त छात्र/छात्रा र आधा दर्जनभन्दा बेसी विद्यालयका कर्मचारीसहित सञ्चालित तापिरिचा मावि, सहरमा कहलिएको निजी विद्यालयभन्दा कम छैन ।

तर कसरी ?
दिनभरि हिँडेर साँझ साइजलको तापिरिचा माविको आँगनमा पुग्दा क्यान्टिनमा ३/४ जना भान्से साँझको खाना तयार गर्न व्यस्त थिए । पूर्ण रूपमा आवासीय व्यवस्थापनमा सञ्चालित तापिरिचा माध्यमिक विद्यालयमा जम्मा २०५ जना छात्रछात्रा छन् । तिनै विद्यार्थीका निम्ति खाना तयार भइरहेको थियो । विद्यालय प्रमुख व्यास्थापक सेम्दुक लामा हाम्रो काव्य यात्रासँग जोडिने भएको हुनाले हामी रोकिएका थियौँ त्यहाँ । अपर डोल्पाका धेरै विद्यालयमा शिक्षकले पाइला नटेकी सदरमुकाममा बसेर हाजिर गर्ने र तलब बुझ्ने गरेको समाचार पढ्दै गरेको हामी, तापिरिचा माविको व्यवस्थापन देखेर भने आश्चर्यमा परिरहेका थियौँ । यो दूरदराजको विद्यालयमा त्यस्तो के जादूको छडी चल्छ, जसले विद्यार्थीहरूलाई त्यो तहको सेवा, सुबिधा र नतिजासहितको नमुना विद्यालय सञ्चालन गर्न सम्भव बनाइरहेको छ ?
२०५४ सालमा स्थापना भएको यस विद्यालय त्यति सजिलो बाटो हिँडेर आजको तापिरिचा माविसम्म आइपुगेको भने होइन । यसको जरा पहिल्याउँदै जाने हो भने स्विजरल्यान्ड हुँदै अमेरिका नपुगेसम्म डोल्पाको तापिरिचा मावि भेट्नै सकिँदैन । जतिखेर स्विजरल्यान्डकी मानवशास्त्री मारियटा र अमेरिकी क्याथ्री इनमानले आफ्नो पीएचडीको शोधको विषय बोन धर्मलाई रोजे, त्यसबेलासम्म उनीहरूलाई डोल्पाको भौगोलिक अवस्था कस्तो छ भन्ने थाहै थिएन । तर, नेपालको हिमाली जिल्ला अपर डोल्पा र आसपास नपुगी मारियटा र क्याथ्रीको रिसर्च पूरा हुँदैन थियो । त्यसपछि झोलीतुम्बी कसेर उनीहरू नेपाल उडे । नेपाल आएर उनीहरूले कर्णालीको नक्सा तयार पारे । कर्णालीको पनि विशेषगरी डोल्पा जिल्लाको फोक्सुन्डो तालमा चिनो लागाए र यात्रामा निस्किए । फोक्सुन्डो त्यही ताल हो, जसको उत्तर किनारामा बोन धर्म गुरु तापिरिचाले तपस्या गरेर ज्ञान प्राप्त गरेको पवित्र भूमि हो । बोन धर्मका प्रवर्तक तोन्पा सेन्राव मिवोले १८ हजार ३६ वर्षअघि बोन धर्मको सुरुआत गरेका थिए । त्यही बोन धर्मको रिसर्च गर्ने क्रममा मारियटा र क्याथ्री इन्मान डोल्पाको रिग्मो गाउँ पुगे । संयोगबस त्यसबेला सेम्दुक लामा फोक्सुन्डो ताल नजिकैको रिग्मो गाउँमा स्यानो पसल गरेर बसेका थिए । मारियटा, ब्याथ्रो र सेम्दुकको भेट त्यहीँ गाउँमा भयो । लामाले उनीहरूको रिसर्चको निम्ति सक्दो सहयोग गरे । मारियटा र क्याथ्रो आफ्नो शोधकार्य सकेर फर्किने समय नजिकिइरहेको थियो । सेम्दुक लामालगायत साथीहरूले उनीहरूलाई गाउँको निम्ति केही सहयोग गरिदिन आग्रह गर्ने भए । तर, के सहयोग माग्ने ? अलमलमा परे उनीहरू । त्यतिबेलासम्म डोल्पाको धो–तराप उपत्यकामा मारियटा र क्याथ्रोजस्तै विदेशीले खोलिदिएको व्यवस्थित विद्यालय क्रिस्टल माउन्टेन सञ्चालनमा आइसकेको थियो । उनीहरूले सोचे, गाउँमा विद्यालयको जरुरी छ । लामा र साथीहरूले ति विदेशी साथीहरूलाई क्रिस्टल माउन्टेनजस्तै स्कुल खोलिदिन आग्रह गरे । पढे–लेखेका उनीहरूले त्यस क्षेत्रमा विद्यालयको जरुरी छ भन्ने बुझेका थिए । आफ्नो शैक्षिक अनुसन्धान पूरा गर्न सहयोग गरेका साथीहरूको आग्रहप्रति सकारात्मक भए उनीहरू । मारियटा र क्याथ्रीको त्यही सकारात्मक सोचको परिणामको नाम हो आजको तापिरिचा मावि ।
विद्यालय बनाउन सहयोग गर्ने वचन दिएर मारियटा र क्याथ्रो आफ्नो देश फर्के । देश फर्केर उनीहरूले विद्यालय सहयोग कोषको स्थापना गरे । कोषमा पचास, सय डलर गर्दै रकम जम्माजम्मा गरे । मारियटाले स्विजरल्यान्डमा ‘तापिरिचा भोरोइन’ र क्याथ्रीले अमेरिकामा ‘फ्रेन्डस अफ डोल्पा’ मार्फत रकम संकलन गरे । यता सेम्दुक लामा, रामचन्द्र बूढाहरू भएर ‘तापिरिचा एसोसिएसन फर सोसल हेल्प इन डोल्पा’ भन्ने नन्फ्रोफिटेबल अग्रनाइजेसन सुरु गरे । बोन धर्मसँग नजिक रहेका उनीहरूले, बोन धर्म गुरुको नामबाट संस्थाको गतिविधि सुरु गर्ने निर्णय गरे । तापिरिचा नाम गरेको विख्यात बोन धर्म गुरुको नामबाट संस्थाको नाम राखेर बोन धर्म र गुरुप्रति समर्पण गरेको देखिन्छ । उनीहरूले संस्थाको नाम मात्रै तापिरिचा राखेनन् । विद्यालयको नाम समेत धर्म गुरुको नामबाटै राखे— तापिरिचा प्रावि । त्यही बालक तापिरिचा आजको लाठे तापिरिचा मावि भएको हो ।
२०५४ सालमा जम्मा पन्ध्र विद्यार्थी जम्मा गरेर विद्यालय सुरु भयो । विद्यालयको आफ्नो भवन थिएन । दर्तासमेत थिएन । तर, सेम्दुकले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको सुम्दुवामा अवस्थित खाली भवनमा पठनपाठन सुरु गरे । तर, सधैं यसरी सम्भव थिएन । अनुमतिबिना सुरु गरेको विद्यालयले आधिकारिकता प्राप्त गर्न सरकारी प्रक्रियामा जानैपर्थ्यो । यो प्रक्रिया झन्झटिलो पनि थियो । बरु सञ्चालनमा रहेको एउटा विद्यालयसँग छलफल गरे साम्दुक र उसको समूहले । विद्यार्थीको अभाव खड्किरहेको शे–फोक्सुन्डोको पुनिखास्थित सरस्वती प्राबिलाई साइजल ल्याएर सञ्चालन गर्ने टुंगो गरे उनीहरूले । पूर्ण आवासीय सुविधासहित सुरु भएको विद्यालयले बिस्तारै गति लिन थाल्यो । विद्यालय स्थापना भएको दुई वर्षपछि रामचन्द्र बुढामगर विद्यालयको व्यवस्थापनसँग जोडिए । संस्थालाई टेकओभर गर्ने सवालमा रामचन्द्र दक्ष मानिन्थे । विद्यालय सरकारी भए पनि अमेरिका र स्विजरल्यान्डबाट प्राप्त सहयोगले विद्यालय थप मजबुद बन्दै गयो । सरकारी विद्यालय, त्यसमाथि अपर डोल्पाका अधिकांश विद्यालय नाम मात्रैका विद्यालय छन् अहिले पनि । न त्यहाँ शिक्षक उपस्थित हुन्छन्, न विद्यार्थी । तर, तापिरिचाको अवस्था ठीक उल्टो देखिन थाल्यो । जति–जति विद्यार्थी बढ्दै गए, उति नै विद्यालयको तह बढाउदै लग्नुपर्ने देखियो । २०५४ सालमा सुरु भएको विद्यालय ११ वर्षपछि पहिलो एसएलसी ब्याच २०६५ मा पासआउट भए । त्यो पनि उत्कृष्ट नतिजासहित ।
११ वर्ष भएछ तापिरिचा माविबाट बर्सेनि विद्यार्थीहरूले विद्यालय छोड्दै हिँडेको । तापिरिचाले पखेटा हालेर पठाउँछ, जसरी फोक्सुन्डो तालबाट निकास भएर बग्दै बग्दै आउने पानीले साइजल छोएर बग्छ ओरालै ओरालो । ठीक त्यसरी नै तापिरिचाबाट बर्सेनि २५ जना विद्यार्थी निस्केर जान्छन् । उनीहरू कहाँकहाँ पुग्छन् ? पुग्नेहरूलाई मात्रै थाहा हुने कुरा हो । लेखाजोखा राखेर साध्य पनि त हुन्न विद्यालयलाई । तर, तापिरिचाले उत्पादन गरेका आफ्ना केही विद्यार्थी, अहिले विद्यालय आफैंले हायर गरेर ल्याएको छ । विद्यालयले सञ्चालनमा ल्याएको हेल्थ डिपार्डमेन्टमा केही स्टाफ नर्स, एचए र निजी शिक्षकको रूपमा माथिल्लो तहको डिग्री लिएर विज्ञान, गणित र अंग्रेजी विषय पढाइरहेका छन् । आफैंले अध्ययन गरेको विद्यालयमा फर्केर सेवा गर्न पाउनुको आनन्द उसैलाई मात्रै त हुने हो, जसले सेवा गर्ने मौका पाइरहेका छन् । यस विद्यालयले सञ्चालन गरेको स्वास्थ्य कार्यक्रममा विद्यालयका सदस्यहरूले मात्रै सेवा लिँदैनन् । अपर डोल्पाका तिनै स्थानीय तहका मानिसले सेवा लिन्छन् । स्विजरल्यान्डकी मारियटा होस् वा अमेरिकी क्याथ्री वा उनीहरूजस्तै शोधकर्ता, पर्यटकहरूलाई होस् वा मजस्तो बेलाबखतको डुलुवालाई समेत स्वास्थ्यमा समस्या परे तापिरिचा माविको स्वास्थ्य विभाग हरदम हाजिर छ ।
अहिले तापिरिचा माविमा जम्मा दुई सय पाँच जना विद्यार्थी छन् । एलकेजीदेखि कक्षा दससम्म पढाइ हुने विद्यालयको प्रत्येक कक्षामा अधिकतम २५ भन्दा माथि विद्यार्थी राखिँदैन । तर, हरेक वर्ष कात्तिक २५ गतेदेखि चैत १० सम्म विद्यालय पूर्ण रूपमा बन्द हुने गर्छ । अधिकतम हिमपातका कारण प्रत्येक हिमाली जिल्लाका विद्यालयहरूको अवस्था उस्तै हुने गर्छ । कात्तिक महिनादेखि माथिल्लो डोल्पाका सारा गाउँहरू रित्तो हुने गर्छन् । हिउँ छल्न बेंसी झरेका हिमालीहरू चैतमा घर फर्कंदा अधिकांशको कमजोर घरहरू हिउँले खाइसकेको हुन्छ । हिमालमा बस्ने प्रत्येक मानिसहरूको दुःख हो यो । हिउँद सकिएपछि उनीहरू घर फर्कन्छन् र आफ्नो जीर्ण घर मर्मत गरेर बस्छन् । वर्षौवर्षदेखि उनीहरू यसरी नै बाँचिरहेका छन् । अन्य विद्यालय, सरकारी कार्यालयहरूको हालत पनि उस्तै हो । तर साइजलमा तापिरिचा मावि कात्तिकबाट रित्तो भए पनि यसबीचमा उसको गतिविधि भने निरन्तर रहन्छ । कक्षा १० का विद्यार्थीलाई एसईई तयारीका लागि काठमाडौँमा छुट्टै होस्टलको व्यवस्था गर्छ विद्यालयले । उनीहरू उतै जाँचको तयारी गर्छन् । एसईईको बेला जिल्ला सदरमुकाम डोल्पा आउँछन् र जाँच लेख्छन् ।
कात्तिकमा पहाड झरेको तापिरिचा एकैपटक छ महिनापछि हिमाल फर्कन्छ । वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुनपूर्व विद्यार्थी भर्ना कार्यक्रम सुरु हुन्छ । अभिभावकहरू आफ्ना नानीहरूलाई भर्ना गराउन लाम लाग्छन् । तर, सीमित सिटका कारण सबैले भर्ना पाउँदैनन् । विद्यालयले प्रवेश परीक्षा लिन्छ र सफल हुनेहरू वैशाख पहिलो सातादेखि विद्यालयमा हाजिर हुन्छन् । विद्यालय हाजिर भएका सम्पूर्ण विद्यार्थी २४ सै घण्टा विद्यालयको आचारसंहिताभित्र बस्छन् । विद्यार्थीको सम्पूर्ण खर्च विद्यालय आफैंले बहन गरेर, उनीहरूको चौतर्फी विकासका लागि विद्यालय व्यवस्थापनले गर्न सक्ने जति सिर्जनात्मक क्रियालकलापमा सहभागी गराउँछन् ।
उनीहरू कविता लेख्छन्, गीत लेख्छन्, गाउँछन् । बाजा बजाउँछन्, नृत्य गर्छन् । भाषण गर्छन् । अन्य साधना, ध्यान गर्छन् । उनीहरू समरको हरेक बिहान ५ः३० बजे नै ब्युँझन्छन् । ब्रस गर्छन् । मेडिटेसन गर्छन् । चिया पिउँछन् र करिब एक घण्टा पाठ्यक्रमसँग सम्बन्धित विषयमा घोत्लिन्छन् । हरेक साँझ ९ः३० बजे निदाउने तापिरिचाका विद्यार्थीहरू शुक्रबार भने ऐच्क्षिक क्रियाकलापमा व्यस्त हुन्छन् । विद्याथीहरूको रुचिअनुसार कोही गीत गाउँछन् । कोही गीत लेख्छन्, कोही कविता लेख्छन्, कोही विद्यालयको पुस्तकालयमा आफ्नो रुचिअनुसारका पुस्तक पढ्छन् । कोही नृत्य गर्छन् त कोही खेल खेल्छन् । तापिरिचा माविको आँगनमा, गत असार महिनामा फोक्सुन्डो काव्य यात्राबाट फर्किंदा हाम्रो निम्ति विद्यालयले गरेको छोटो स्वागत कार्यक्रमको सन्दर्भ यसको गतिलो उदाहरणको रूपमा लिन सकिन्छ । केही मिनेटको अन्तरमा उनीहरूले रचना गरेको गीत, कविता र नृत्य हाम्रा लागि नयाँ त हुने नै भयो । साथै तापिरिचाबाट डोल्पा सदरमुकामको दुईदिने पैदलयात्राका लागि केही ऊर्जासमेत संकलन भएको थियो । तापिरिचा माविका केटाकेटीहरूले आधा घण्टाको समयमा पैदा गरेको सिर्जनात्मक झंकार बोकेर फोक्सुन्डो खोलाको डिलैडिल फर्क्यौँ हामी ।

Page 23
कोसेली

द्रौपदी–कर्णको दुःखान्त प्रेम

लेखक चित्रा बनर्जी महाभारतको मूलकथाकै सूक्ष्म संकेतलाई पक्रेर लेख्छिन्, ‘पाण्डवसँग विवाहअघि नै द्रौपदी धनुर्वीर कर्णप्रति आकर्षित भएकी थिइन् ।’
- अभय श्रेष्ठ

दुःखान्त प्रेम
झट्ट हेर्दा, महाभारतको मूलकथामा द्रौपदी र कर्णको सम्बन्ध मूलतः घृणाले निर्देशित भएझैँ लाग्छ । तर, भारतको प्रख्यात मूर्तिदेवी पुरस्कार विजेता प्रथम महिला लेखक प्रतिभा राय, अमेरिका निवासी भारतीय लेखक चित्रा बनर्जी दिबकरुणीलगायत नयाँ धारणाका लेखकले मूलकथाकै सूक्ष्म संकेतलाई पक्रेर पाण्डवसँग विवाहअघि नै द्रौपदी धनुर्वीर कर्णप्रति आकर्षित भएकी र कर्णको हृदयमा पनि द्रौपदीकै वास रहेको उल्लेख गरेका छन् ।
विवाहअघि नै सूर्यबाट गर्भवती भएर कुन्तीले कर्णलाई जन्म दिएकी थिइन् । लोकलाजका कारण उनले शिशुलाई बाकसमा हालेर गंगामा बहाइदिइन् । बग्दै बग्दै धेरै पर पुगेपछि गंगा किनारमा बस्ने सारथि अधिरथले उनलाई उद्धार गरे । पत्नी राधाले शिशुलाई पुत्रका रूपमा प्रेमपूर्वक पालन पोषण गरिन् । ठूलो हुँदै जाँदा कर्ण सारथि हुनुभन्दा धनुर्विद्यामा रुचि देखाउन थाले । परशुरामलाई गुरु थापेर उनले धनुर्विद्यामा असाधारण क्षमता देखाए । धनुर्विद्यामा दक्षता प्रमाणित गर्न उनी विभिन्न देशमा आयोजना हुने समारोहमा पुग्थे । ठूला योद्धा एवं राजकुमारलाई हराएर थुप्रै धनराशिका पुरस्कार जित्थे । उनको कुशलता र वीरताको प्रसिद्धि देश–देशावरमा फैलियो । अनि कर्णलाई नदेख्दै द्रौपदीको मनमा उनीप्रति मृदु भाव जागिसकेको थियो । पाञ्चालमा एकपल्ट कर्णको वीरता र सुन्दरता प्रत्यक्ष देखेर द्रौपदीले मनमनै उनलाई आफ्नो हृदयमा वास दिइन् । द्रौपदीका आँखामा आफूप्रति असीम प्रेमको किरण देखेर कर्ण पनि उसैगरी मोहित भए । दुवै जना एक अर्कालाई पाउने सपना देख्न थालेका थिए । तर, उनीहरूको प्रेम अव्यक्त थियो । प्रतिभा रायले आफ्नो उपन्यास ‘याज्ञसेनी’ मा चाहिँ द्रौपदीले आफ्नो स्वयंवरमा पहिलोपल्ट कर्णलाई देखेर मोहित भएको उल्लेख गरेकी छन् ।
हस्तिनापुरका राजकुमारहरूका गुरु द्रोणाचार्य र पाञ्चाल नरेश द्रुपदबीच ठूलो दुस्मनी थियो । द्रुपद छोरी द्रौपदीको विवाह वीर अर्जुनसँग गराएर आफ्नो शक्ति बढाउन चाहन्थे । त्यसैले द्रौपदीको स्वयंवरमा उनले तल खड्कुलाको पानीमा छाया हेरेर धेरै माथि फनफनी घुमिरहेको यन्त्र–माछाको आँखामा वाणले निशाना लगाउनुपर्ने सर्त राखे । द्रुपदको अनुमानमा यो काम अर्जुनबाहेक अरूले गर्न सक्दैनथे । मत्स्यवेदको यो सर्त कर्णका लागि झनै मामुली थियो । त्यसमा द्रौपदी पनि विश्वस्त थिइन् । स्वयंवरमा आउने राजकुमारहरूको भीडमा उनका आँखाले कर्णलाई नै खोजिरहेका थिए । त्यसै बेला कृष्णले कर्ण ‘सूतपुत्र हुन्, उनीसँग विवाह भए आजीवन दासी हुनुपर्ला’ भनी द्रौपदीको कान फुकिदिए । द्रौपदीको मनमा कोलाहाल मच्चियो । कृष्णको कुरा मानौँ, पूरा हुनै लागेको सपनाको बलिदान हुने । नमानौँ, कत्रो समस्या ! उनलाई पनि पिता द्रुपदले द्रोणसँग प्रतिशोध लिने प्रतिज्ञा पूरा गर्न अर्जुनलाई ज्वाइँ बनाउन चाहेको थाहा थियो । त्यसमाथि कर्ण राजकुमार नभई सूतपुत्र भएकाले उनीसँग विवाह भए जीवनभर दासी भएर बाँच्नुपर्ने कुराले पिरोल्यो । कर्णले धनुकाण खैँचनै लाग्दा अकास्मात् उनले भनिदिइन्, ‘म सूतपुत्रसित विवाह गर्दिनँ ।’ द्रौपदीजस्ती निडर र विवेकी युवतीले समेत जातको आधारमा गरेको अपमानजनक व्यवहारले कर्णको मनमा गहिरो चोट लाग्यो । यो अपमान उनले जीवनभर भुल्न सकेनन् । द्रौपदीले भने पाँच पाण्डवसँग विवाह भए पनि कर्णलाई बिर्सन सकिनन् ।
महाभारतको पूरै कथामा यही जातिभेदको भूमिका छ । जातिभेद गर्ने पाण्डवहरूको जितबाट महाकवि व्यासले यसको औचित्य साबित गर्न खोजे पनि उनले नचाहँदा नचाहँदै यसका खतरनाक पार्श्व प्रभावहरू प्रकट भएका छन् । कौरव पक्षधर मात्र नभई पाण्डव पक्षधर र तिनका सन्तानसमेत सखाप हुनु त्यसको ज्वलन्त प्रमाण हो ।
मौन वेदना
कर्णको दुर्नियति सम्झँदा संसारका सारा अभागी वीरहरूको जीवनका अनेक विपत्ति साक्षात्कार भएझैँ लाग्छ । उनी महाभारतका निमित्त नायक हुन् । वेदव्यास स्वयंले चाहेर पनि उनलाई खलनायक बनाउन सकेनन् । त्याग, पराक्रम र सत्यनिष्ठाका पर्याय कर्णको जीवन अरण्य रोदनजस्तै एक अविरल निःश्वास थियो । एउटा मौन वेदना, मौन चित्कार, मौन विद्रोह । सारथि पुत्र’ भएकै कारण धनुर्विद्यामा उनले अर्जुनसँग प्रतिस्पर्धा गर्न पाएनन् । जन्मकै कारण देखाई उनलाई रंगभूमिमा अर्जुनसँग प्रतिस्पर्धा, द्रौपदीको स्वयंवरमा मत्स्यवेद र भीष्मको नेतृत्व रहुन्जेल महाभारत युद्ध गर्नबाट वञ्चित गरियो । खासमा उनी शूद्र पनि थिएनन् । उनको नश्लमाथि उठाइएको प्रश्न इतिहासकै भयानक गल्ती थियो । त्यसको सजाय आधुनिक युगमा पनि सकल दलित, उपेक्षित र उत्पीडितले बेहोर्नुपरेको छ । तिनको प्रतिभा, पराक्रम र सौर्यको कदर गर्न आज पनि हाम्रो समाज तयार छैन ।
परशुरामबाट ब्राह्मणत्वको परीक्षामा सफल भएर उनले शस्त्रविद्या सिके । तर, गुरुको निद्रा भंग हुन नदिन बिच्छीको टोकाइ चुपचाप सहँदा ब्राह्मण नभएको थाहा पाएर परशुरामले उनलाई ब्रह्मास्त्रको पूर्ण ज्ञान दिएनन् । अनुपम गुरुभक्ति र अतिसहनशीलताको पुरस्कार उनले यसरी पाए । तर, पितातुल्य गुरु द्रोणको हत्या गराउन झूटभन्दा पनि कैयन् गुणा खतरनाक अर्ध सत्य बोल्ने युधिष्ठिर सत्यवादी ठहरिए । द्रौपदीलाई पाँच पति थोपर्ने उनी आदर्श पुरुष र आर्यावर्तका नायक भए ।

अभागी महावीर
रंगभूमिमा अर्जुनको चुनौती स्विकार्न सक्ने एक मात्र योद्धा उनै कर्ण थिए । हस्तिनापुरका कुलगुरु कृपाचार्यले ‘सूतपुत्रलाई राजकुमारसँग प्रतिस्पर्धा गर्न अधिकार नहुने’ अविवेकी घोषणा गर्दा पितातुल्य गुरु द्रोणाचार्य, हस्तिनापुरका महारथि र भारदारहरूले ल्याप्चे लगाइदिए । भीमले त ‘सूतपुत्रले राजकुमारलाई ललकार्ने’ भनेर बातैपिच्छे उनको कुलको अपमान गरे । कर्णले आफ्नो योग्यताको परीक्षा दिन नपाउने भए । कुन्तीलाई थाहा थियो, कर्ण उनकै जेठा छोरा हुन् । लोकलाजबाट बच्न आफ्नै छोराको अपमान उनले चुपचाप हेरिरहिन् । आखिर दुर्योधनले भने, ‘वीरता कुनै जाति वा नश्लको पेवा होइन । ऋषि, नदी र शूरवीरहरूको उत्पत्तिको कथा सबैलाई थाहा हुँदैन । पाण्डवहरू हो, जन्म वा कुलको होइन, वीरताको सम्मान गर्न सिक । होइन भने तिमीहरूको जन्मका हाल हामीलाई पनि थाहा छ ।’
कुलगुरुले राजकुमारसँग युद्ध गर्न राजकुमार नै हुनुपर्ने नियम बताएपछि दुर्योधनले तत्काल कर्णलाई अंगदेशको राजा बनाए । तैपनि, घाम डुबिसकेकाले कर्णले प्रतिस्पर्धा गर्न पाएनन् । बदलामा कर्ण आफ्नो असीम अपमान र विपत्मा साथ दिने दुर्योधनको आजीवन हितैषी भए । दुर्योधनले ‘निच जातिका’ कर्णलाई मित्र र अंगदेशको राजा बनाएको हस्तिनापुरका भारदारहरूलाई पचेन । कौरव सेनापति बन्ने क्रममा भीष्मले भने, ‘म सेनापति रहुन्जेल सूतपुत्र कर्णले युद्ध गर्न पाउँदैन ।’ भीष्म अर्जुनको सरशय्यामा नपरुन्जेल महावीर कर्णबिना महाभारत युद्ध चलिरह्यो । भीष्मपछि सेनापति बनेका द्रोणलाई रणनीति सुधार्न जब उनी सुझाव दिन्थे, द्रोण बातैपिच्छे उनलाई युद्धबाट निकालिदिने धम्की दिन्थे ।
द्रोण हत्यापछि कर्ण स्वयं सेनापति भए । उनले माद्र नरेश शल्यलाई सारथि बनाए जो नकुल र सहदेवका साख्य मामा थिए । ती एक नम्बरका जाली र धोकेबाज थिए । पाण्डवका पक्षमा लड्न आएका उनी युधिष्ठिरको उपेक्षा र दुर्योधनको सत्कारबाट प्रेरित भएरै कौरव पक्षमा लागेका थिए । युद्ध सुरु हुने बेला कुन्ती र कृष्णले पाण्डव पक्षलाई सघाउन आग्रह गर्दा उनले कौरव पक्षबाट लडे पनि ऐनमौकामा तिनलाई कैँची मार्ने वाचा गरेका थिए । त्यो वाचा उनले बारम्बार कर्णलाई अर्जुनको दाँजोमा अत्यन्त हेय देखाएर, उनको मनोबल गिराउने व्यवहार गरेर पूरा गरे । सारथि भएर पनि आदेश मान्न अस्वीकार गरेर, अर्जुनले तिमीलाई नमारी छाड्दैनन् भनेर उनी कर्णलाई कायल पार्थे । यति गर्दा पनि पाण्डवहरूबाट उनले माफ पाएनन् । अन्ततः युधिष्ठिरले उनको वध गरे । पाण्डवले त कौरव पक्षकै एक भाइ विकर्णको समेत गुण सम्झेनन् जसले सभामा नंग्याउन ल्याइएकी द्रौपदीको पक्षमा निडर र निष्पक्ष भएर बोलेका थिए । युद्धमा भीमले क्रूरुतापूर्वक उनको वध गरे ।
कर्णलाई पाण्डवतर्फ मिलाउन कृष्णले कर्णको जन्मभेद खोल्दै भनेका थिए, ‘तिमी नै पाण्डवमध्ये जेठा मानिने छौ । जेठा भएका नाताले राजा बन्ने र पद्मिनी देहकी द्रौपदीसँग सुखभोग गर्ने अवसर तिमीलाई पनि प्राप्त हुनेछ ।’ अत्यन्त कमनीय देहकी द्रौपदीसित मोहित भएर पाँचै पाण्डव उनीसँग विवाह गर्न लालायित भएका थिए । तर, कुनै समय आफ्नै चिर सपनाकी रानी तिनै पद्मिनीमाथि हिस्सा लाग्ने लोभले कर्णलाई तान्न सकेन । कृष्णको प्रस्ताव अस्विकार्दै कर्णले निर्द्वन्द्व भएर भने, ‘मेरो यौवन केबल मेरी पत्नीका लागि हो ।’
जन्मले राजकुलकै भए पनि आमाकै कारण नीच जातिको अपमानपूर्ण जिन्दगी बाँच्नुपरेको पहिलोपल्ट थाहा पाउँदा कुनै युवकको हालत कस्तो होला ? कर्णले त्यही मर्मभेदी स्थितिको साक्षात्कार गरे । तर, त्यसको प्रतिक्रिया उनले आमा कुन्तीसित कहिल्यै प्रकट गरेनन् । युद्ध सुरु हुनै लाग्दा कुन्तीले पनि उनलाई पाण्डवतर्फ लाग्न आग्रह गरिन् । जन्मदात्री भएर पनि आमा हुन नसकेकी, आफ्नो अपमानपूर्ण जीवनको कारक बनेकी तिनै कुन्तीलाई समेत उनले ममतामयी आमाको सम्मान दिए । तिनको कुकृत्यका लागि कुनै गुनासो गरेनन् । याचकलाई कहिल्यै निराश नफर्काउने कर्णले उनीसँग ‘अर्जुनबाहेक कसैलाई नमार्ने’ वचन दिए । नभन्दै युद्धमा युधिष्ठिर, भीम, नकुल, सहदेवलाई पक्रेर, तिनको तेजोबध गरेर ज्यान माफी दिए । अर्जुनको शरशय्यामा सुतेपछि भीष्म स्वयंले पाण्डवतर्फ लाग्न सुझाव दिँदा उनले विनम्रतापूर्वक अस्विकार्दै दुर्योधनप्रतिको अविरल बफादारी दर्साएका थिए ।

द्रौपदीसँग प्रतिशोध
टुहुरा पाँच पाण्डवमाथि सय भाइ कौरवले गर्नुसम्म अन्याय गरेका थिए । भीमलाई विष खुवाएर नदीमा फ्याँकिएको थियो । राज्यसत्ताबाट च्युत गर्न अत्यन्त विस्फोटक पदार्थहरूले बनेको लाहाको घरमा जलाएर मार्ने षड्यन्त्र गरियो । बनवास र गुप्तवासका क्रममा पनि बारम्बार मार्न खोजियो । भीष्म, विदुर, द्रोण, कृपाचार्यजस्ता न्यायप्रेमी लाचार छाया भए । कौरवको हाहामा लागेर विपत्तिमा परेका पाण्डवको धज्जी उडाउनु, आफ्नो अपमानको प्रतिशोध लिन दुःखी द्रौपदीप्रति अश्लील कटाक्ष गर्नु, दुर्योधनलाई युद्ध प्रेरित गरेर नरसंहारलाई निमन्त्रणा दिनु सज्जन कर्णलाई सुहाउने कुरा थिएन । तर, उनलाई दुर्योधनको दायरामा धकेल्ने भूमिका पाण्डव र उच्च भारदारहरूले नै खेलेका थिए । यस्तोमा ऐनमौकामा आफूलाई लगाएको असाधारण गुणको भर्पाई गर्न पनि उनी आजीवन दुर्योधनको मित्र हुनु अनिवार्य थियो ।
भीम सानैदेखि हदै खलेपु थिए । उनी रूख हल्लाएर हाँगामा बसेका कौरवलाई खुत्रुक्कै पार्थे । जुल्फी पक्री फनक्क घुमाएर पाहाजस्तै पछार्थे । टाउको थिचेर पोखरीमा डुबाइदिन्थे । यही सम्झेर दुर्योधनले पाण्डवलाई पन्छाउन खोजे । कति अवस्थामा पाण्डव दुर्योधनसँग सम्झौता गर्ने मनस्थितिमा पुग्थे । कृष्ण बारम्बार युद्धका लागि उचाल्थे । तर, आफैं राजपाठबाट गहलहत्याइँदा पनि पाण्डवको क्षत्रीय र राजकुलीन अभिमान हदै उत्ताउलो थियो । तिनको यही जातिवादी अहम्ले कर्णलाई दुर्योधनको दायरामा धकेलिदिएको थियो । कर्ण आफ्नो सत्यनिष्ठा, दयालुपन र दानी स्वभावबाट डगमगाएनन् । चक्रपाणि चालिसेको ‘संक्षिप्त भारत’ का अनुसार युधिष्ठिर जुवामा पराजित भएपछि दुर्योधनले द्रौपदीलाई सभामा घिच्याएर ल्याउन कर्णलाई अह्राएका थिए । (मूलकथामा ती व्यक्ति दुर्योधनका भाइ प्रतिकामी थिए ।) दुर्योधनको अन्यायपूर्ण आदेशका लागि उनले द्रौपदीसँग माफी मागे । द्रौपदी रजश्वला भएर एकवस्त्रा रहेकी थाहा पाउँदा त्यसै फर्के । दुर्योधनले षड्यन्त्रपूर्वक पाण्डवको हत्या गर्ने योजनालाई कायरता भन्दै दुत्कारे ।

अनुपम वीरता
महाभारत युद्धमा कर्णले देखाएको अद्वितीय वीरताका अनेक घटना छन् । उनले अश्वमुख नामक वाण प्रहार गर्दा कृष्णले चलाखी गरेर रथ ननुहाएका भए अर्जुन स्वयं मारिने थिए । तैपनि कर्णको वाणले अर्जुनको किरिट र मुकुट उछिट्ट्यायो । अरू चार पाण्डवको त उनले सातो लिएका थिए । यस्ता परमवीर कर्ण अरू बेला अर्जुनसँग सामना हुँदा कायरतापूर्वक भागेको महाभारत मूलकथाका प्रसंगहरू पटक्कै पत्यारिलो लाग्दैन । अन्ततः कर्ण स्वयं युद्धको नियमविपरीत अर्जुनको ब्रह्मास्त्र प्रहारबाट मारिए । हिलोमा जाकिएको रथको पाङ्ग्रा उठाउन लाग्दा निःशस्त्र कर्णमाथि प्रहार गर्न कृष्णले आदेश दिए । कर्णले युद्धको नियम सम्झाउँदा कृष्णले उनको खिल्ली उडाए । कर्णको सहादतपछि सञ्जयले भनेका थिए, ‘याचकले माग्दा जसले सदैव दिन्छु भन्यो, याचकका लागि जसले कहिल्यै हुन्न भनेन, जसलाई सज्जनहरूले सदैव सत्पुरुष माने, तिनै कर्ण आज युद्धमा मारिए । याचकरूपी पन्छीहरूको कल्पवृक्ष ढल्यो ।’
भारतीय टीभी स्टार प्लसको महाभारत शृङ्खलामा एउटा विशेष दृश्य छ । कर्णको ब्रह्मास्त्रबाट अर्जुनलाई बचाउनु असम्भव भएपछि कृष्ण भागेझैँ गरी अर्जुनको रथ दलदलतिर लैजान्छन्, जसलाई पछ्याउँदै जाँदा कर्णको रथ भासिन्छ । आचारसंहिताविरुद्ध अर्जुनको प्रहारबाट कर्ण मरणान्त हुँदा आर्तनाद गर्दै कुन्ती पाण्डवहरूलाई कर्णको असली परिचय दिन्छिन् । यसका लागि पश्चात्ताप गर्दै युधिष्ठिरले खै गर्दा आमा कुन्तीको बचाउ गर्दै कर्ण भन्छन्, ‘यो सब मैले गर्दा भएको हो प्रिय अर्जुन । म तिमीलाई हराउन चाहन्थेँ । छल गरेर तिमीले ममाथि विजय प्राप्त गरे पनि धर्म र नैतिकताका दृष्टिले मैले नै तिमीलाई पराजित गरेँ ! किनभने कृष्णको छल बुझ्दाबुझ्दै मैले तिमीमाथि कहिल्यै छलपूर्वक प्रहार गरिनँ ।’

द्रौपदीको अमर प्रेम !
कर्णको हत्यापछि द्रौपदीका मनमा कस्तो कोलाहाला मच्चिएको होला ? यसमा परम्परागत लेखकहरूले मूलकथाको सतहको फेर समातेर यी दुईबीच घृणाको सम्बन्धबाहेक केही थिएन भन्दै सिंगै किताब लेखिदिन सक्छन् । बरु, एक छिन प्रतिभा रायको उपन्यास ‘याज्ञसेनी’, चित्रा बनर्जी दिबकरुणीको भ्रमहरूको दरबार (द प्यालेस अफ इल्युजन्स), का तर्कपूर्ण कथालाई आधार मानेर व्याख्या गरौँ । आफूले जानाजान अपमान गरे पनि कर्णप्रति द्रौपदीको अनुराग कहिल्यै सकिएन । इन्द्रप्रस्थमा कौरव पक्ष भ्रमणमा आउँदा कर्णका लागि विशेष कोठा द्रौपदीले नै छुट्ट्याइदिएकी थिइन् । उनको ध्यान तान्न द्रौपदी अनेक हाउभाउ गर्थिन् । चोरीचोरी हेर्थिन् । तर, कर्णलाई यस्ता कुराले छुँदै छोएन । मत्स्यवेदमा देखिएको उनको आँखाको चमक द्रौपदीले गरेको जातिभेदी अपमानपछि सदाका लागि गायब भयो । तर, कर्णले पनि आफूलाई त्यतिकै प्रेम गर्थे भन्ने कुरा भीष्मसँग गरेको वार्ता सुनेर द्रौपदीले थाहा पाएकी थिइन् ।
त्यही आधारमा एक छिन गमौँ त, कर्ण र द्रौपदीको प्रेम सफल भएर विवाह भएको भए के हुँदो हो ? प्रस्ट छ, महारानी हुन नपाए पनि उनको जिन्दगी शान्त र प्रेमको बगैँचामा हराभरा हुन्थ्यो । तनावले उनको मनमा वास पाउने थिएन । कुनै मालसामानसरह उनी कौडाको खालमा थापिने थिइनन् । पाँच पाण्डवका बगाल निजी पत्नीहरूको सौतेनी व्यवहार उनले सहनुपर्ने थिएन । कर्ण पनि धीर, गम्भीर, शान्त र प्रेमरसले सिँचित रहन्थे । उनीभित्र कुनै आत्महीनता र कुण्ठा रहने थिएनन् । द्रौपदीको अपमान गर्ने कसैको हिम्मत हुने थिएन । द्रौपदीसँग बिहे नभएको स्थितिमा पाण्डवहरू त्यति शक्तिशाली पनि हुने थिएनन् । तिनले राज्य नपाए पनि त्यति कमजोर स्थितिमा महाभारत युद्ध नै हुँदैनथ्यो । लाखौँ मान्छेले ज्यान गुमाउनुपर्ने थिएन । तिनका पत्नी विधवा हुनुपर्दैनथ्यो । कर्णप्रति द्रौपदीको प्रेमको हत्या जातिवादको अस्त्र प्रयोग गरी छलपूर्वक गरिएको थियो । अन्ततः प्रेमी कर्णकै हत्या पनि छलपूर्वक नै गरियो । त्यो पनि उनकै पतिद्वारा । दुवैमा कृष्णले भूमिका खेलेका थिए ।
यस्तोमा द्रौपदीको हृदयभित्र कस्तो आँधी चलेको थियो होला ?
@avayashrestha

कोसेली

होला कि ? कि हुन्न ?

किन्ने र बेच्ने काम हुँदा पनि त्यसको मूल्यले कति छुँदो हो ? यी यस्ता हल्ला हुन्, जसले फुटबललाई वास्तवमै जीवन्त राख्छ । खेलाडीको चर्को मूल्यमा हुने ॅट्रान्सफर’ बीच सधैं भन्ने गरिन्छ, होला कि ? कि हुन्न ?
- हिमेश

विश्व फुटबल मैदानकै खेलमा मात्र सीमित हुँदो त यति रोमाञ्चक र सनसनीपूर्ण हुने थिएन । विशेषतः क्लब फुटबललाई सधैं चर्चामा कायम राख्न केही न केही चाहिन्छ, मैदानको खेललाई छाडेर । अझ भन्नैपर्छ, यिनै बाहिरिया तत्त्वले नै त हो, मैदानी खेललाई अझ स्वादिलो बनाउने । बाह्रै महिना पूरा सिजन फुटबलका पारखीहरूबीच चर्चा चलिरहन्छ, को खेलाडी कता जाने होला ? कुन खेलाडीलाई कुन क्लबले किन्ने होला ?
किन्ने र बेच्ने काम हुँदा पनि त्यसको मूल्यले कति छुँदो हो ? यी यस्ता हल्ला हुन्, जसले फुटबललाई वास्तवमै जीवन्त राख्छ । खेलाडीको चर्को मूल्यमा हुने ‘ट्रान्सफर’ बीच सधैं भन्ने गरिन्छ, होला कि ? कि हुन्न ? हुन सक्छ, किनभने कहिलेकाहीं क्लबले आफ्नो खेलाडीबाट चाहे जत्तिकै मूल्य पाउने सक्छ । नहुन पनि सक्छ, किनभने क्लबले खेलाडी बेचेर चित्तबुझ्दो रकम नपाउन पनि सक्छ । अनि खेलाडीलाई पनि त सोध्नुपर्‍यो, जाने को कि यतै बस्ने भनेर ।
भन्न कर लाग्छ, खेलाडीको यस्ता ट्रान्सफरमा हल्लाले राम्रै भूमिका खेल्छ । मान्छेहरूलाई थरीथरी अनुमान लगाइरहेका हुन्छन् । जति बेला ‘ट्रान्सफर विन्डो’ खोल्ने र बन्द हुने समय आउँदा यी हल्ला अझ चुलिने गर्छन् । खेलाडीका एजेन्टदेखि क्लबका मालिक खुबै बेफुर्दिलो हुने गर्छन् । खेलाडीको वास्तविक नखरा पनि यही बेला देख्न पाइन्छ । खेलाडीले जिद्दी गर्ने समय पनि यही हो । अहिले डिसेम्बर चलिरहेको छ, त्यसैले पनि खेलाडीको यताउता जाने हल्ला बढी छ ।
सबैभन्दा पहिले यो ‘ट्रान्सफर विन्डो’ होचाहिँ के त ? यो त्यो समय हो, जति बेला खेलाडी एउटा क्लबबाट अर्कोमा जाने गर्छन्, मूल्यसहित । पूरा वर्ष नै यसरी खेलाडीले यताउता पनि गर्दैनन् । केही वर्ष भयो, वर्षमा दुईपल्ट ‘ट्रान्सफर विन्डो’ खुल्ने गरेको । यसको सबैभन्दा ठूलो विशेषता कानुनी पनि हुने गर्छ । यसमा धेरे यस्ता सर्त पनि हुने गर्छन्, जसले निर्देशन गर्ने गर्छ, यस्तो गर्ने, यस्तो नगर्ने भनेर । खालि यति बुझौं, एउटा ‘ट्रान्सफर विन्डो’ जनवरीतिर हुन्छ ।
अर्को मे अगस्टतिर । अचेल इंग्लिस क्लब फुटबल बढी लोकप्रिय रहेको स्थितिमा यो ठ्याक्कै उनीहरूकै समयसीमा हो । स्पेन र इटालीतिर पनि लगभग यही समय हो । खासमा यो समयसीमा देशपिच्छे नै फरक पनि छ । फिफाले खालि जहाँ पनि लागू हुने गरेर बनाएको एउटै नियम हो, ‘ट्रान्सफर विन्डो’ १२ साता भन्दा बढी हुनुहुन्न । सबैभन्दा बढी नाटक भने जुन दिन ‘ट्रान्सफर विन्डो’ बन्द हुन्छ, त्यसको मध्यरात हुन्छ । त्यति बेला सबैलाई किन्न र बेच्न हतारो हुने गर्छ ।
विशेषतः बेलायती मिडियाका लागि पनि खुबै मन पर्ने विषय हो, खेलाडीको ट्रान्सफर । विशेषतः टेबलाइड पाराका पत्रिकाको त कामै हो, ट्रान्सफरको हल्ला चलाउने । प्रायः यस्तो मिडियाले त समाचार नै बनाउने गर्छन्, ‘ट्रान्सफर र्‍युमर’ भनेर । डिसेम्बर भएकाले अहिले खास समय हो, हल्लाको । यति बेला युरोपेली क्लब सिजन लगभग मध्यभागमा पुग्न लागेको छ । त्यसैले पनि क्लबलाई टिम अझ बलियो बनाउन खेलाडी किन्न आवश्यक हुन सक्छ ।
जस्तो यसपल्ट सबैभन्दा हल्लाको केन्द्रमा रहेको छ, लिभरपुल । यो क्लब युरोपेली च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन त भइहाल्यो । भर्खरै क्लब वर्ल्डकप पनि जित्यो । अहिले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा छ । इंग्लिस फुटबलको सबैभन्दा सफल क्लब रहेर पनि यसले अहिलेसम्म प्रिमियर लिग जित्न सकेको छैन । यसपल्ट लिग जित्ने बढी सम्भावना यसकै छ । उसले लिग जितेको भनेको पुरानो ‘ए’ डिभिजनको पालामा हो, अहिले जिते तीन दशकपछि यस्तो सफलता हात पार्छ ।
त्यसैले लिभरपुललाई यति बेला अब्बल दर्जाको खेलाडी चाहिएको छ र संख्या एक पनि हुन सक्छ, होइन भने दुईसम्म । अहिले लिभरपुलले आफ्नो बनाएका खेलाडी हुन्, जापानका ताकुमी मिनामिनो हुन । र, मूल्य रहेको छ, ७.२५ मिलियन पाउन्ड । उनले जनवरी १ बाट त क्लबबाटै खेल्न पाउने छन् । यसअघि उनी अस्ट्रियाको क्लब रेडबुल साल्सबर्गमा थिए । उनी आएपछि लिभरपुलको मजुबत टिम अझ झन् बलियो हुने अनुमान गरिएको छ ।
लिभरपुलका व्यवस्थापक योर्गन क्लोपलाई उनको खेल्ने शैली खुबै मन परेको थियो । हुन त, बायर्न म्युनिख र मार्से पनि यी खेलाडीलाई किन्न चाहन्थ्यो । तर होडमा भने लिभरपुल नै अगाडि रह्यो । उमेरको हिसाबमा मिनामिनो आफ्नो खेल जीवनको उत्कर्षमा लिभरपुल जान लागेका हुन् । फेरि लिभरपुललाई पनि एसियामा आफ्नो बजार विस्तार गर्नु छ, अझ सके, जापानमा । त्यसमाथि मिनामिनो जत्तिको खेलाडी यति सस्तोमा कहाँ पाउनु र ?
केही क्लब भने त्योभन्दा कम उमेरका खेलाडी किन्न हतारो गरिरहेका छन् । तिनको दाउ दुई प्रकारको हुन सक्छ । कम मूल्यमा किनेका यस्ता खेलाडी पछि राम्रो भयो भने फाइदैफाइदा । होइन भने फेरि अरू कसैलाई चर्को मूल्यमा बेच्न पनि त सकिन्छ । यस्तै एक खेलाडी हुन्, टिमो वार्नर । उनले अहिले जर्मन बुंडेसलिगामा तहल्का मच्चाइरहेका छन् । त्यसैले उनलाई किन्नमा फ्रायन्क लाम्पार्डको चेल्सीले रुचि देखाएको छ । उनी लेपजिपका खेलाडी हुन् । मुसा डेम्बेले यस्तै अर्का किशोर खेलाडी हुन्, जसमाथि सबैको आँखा छ, विशेषतः प्रिमियर लिग क्लबहरू ।
रियल म्याड्रिडको नजरमा पनि एक १७ वर्षीय खेलाडी परेको छ, एन्गोलामा जन्मेर फ्रान्सको रेनेसका लागि खेलिरहेका एडवार्डो कामाभिनगाका रूपमा । उनलाई त बोलाउँदासमेत ‘वन्डर किड’ भन्ने गरिन्छ । उल्भ्सले यसपल्ट अपेक्षा गरिएभन्दा पनि राम्रो खेलिरहेको छ र यसको एउटा कारण ओवेन आटासोवे हुन् । उनलाई भविष्यका ठूला स्टार मानिएको छ । त्यसैले उनका पछाडि परेका छन्, तिनै रियलदेखि युभेन्ट्स र पीएसजी पनि ।
यी सबैको हूलमा सबैभन्दा ठूलो स्टार हुने छाँट देखाएका खेलाडी हुन्, साल्सबर्गका इर्लिङ ब्रट हल्यान्ड । उनको पछाडि त को छैन भन्दा हुन्छ । उनीमाथि बोर्सिया डर्टमन्डदेखि लेपजिपकै नजर छ । तर हल्यान्ड स्वंयले योभन्दा पनि ठूला क्लब जाने इच्छा देखाइरहेका छन् । हुन सक्छ, यी नर्वेली सनसनी म्यानचेस्टर युनाइटेड अथवा युभेन्ट्स जान सक्छन् । यहाँनिर फेरि जोड्न पर्छ, यी सबै हल्ला नै हुन् । तर हल्ला हुनुपछाडि पनि त केही ठोस कारण पक्कै होला । ‘ट्रान्सफर विन्डो’ हो, जे फनि हुन सक्छ ।
@himeshratna

Page 24
कोसेली

भूपि शेरचनको बुँख्याःचा

‘आज भूपिलाई चाउचाउ खुवाउने !’ तिमीले मलाई चाउचाउ बनाउने काम सुम्पियौ । चाउचाउमा हरियो धनियाँको मात्रा निकै थियो । खाइसकेपछि तिमीतिर फर्केर भूपिले भने, ‘पारिजात, तिमीले मलाई चाउचाउ खान बोलाएको कि घाँस ?’

अपराजिता (पारिजात),
एउटा नयाँ आदत पलाएछ ममा । विश्वास गर्नै नसकिने परिवर्तन । साँझपख दुई–तीन जना बच्चालाई लिएर टोलको मुख्य सडक एक चक्कर लाउने । दिनभर घरमा बसेर अल्छी भएका घुँडाले केही व्यायाम पाउने, मन पनि प्रफुल्ल हुने ।
गाउँबाट सहर भइसकेछ, हाम्रो टोल त, बाबै । एक जमानामा खेतैखेतले भरिएको, शान्त हाम्रो टोलको बीच खेतमा उभिएको गोदामजस्तो हाम्रो घरलाई ‘भूत नाच्ने घर’ भन्थे अरूले । टाढाटाढा रहेका दुई–चार घर र पश्चिमतिर दाहसंस्कार गर्ने घाट, आँगनमा सिमकुखुरा नाच्ने, स्यालले दिउँसै कुखुरा उडाउने । तर, यस टोलको आफ्नै मोहनी थियो । मौसमअनुसारका बालीनाली, लरक्क लर्किरहेका धानका बाला र चराचुरंगी तर्साउन उभ्याइएका बुँख्याःचा (स्केयरक्रो) । बुँख्याःचाको आकृति मनमा आउनासाथ पेटैदेखि हाँसो उठ्यो । बेस्कन हाँसें । किन हाँसे हुँला ? तिम्रो पनि त बुँख्याःचा नामले न्वारान भएको है । दुब्लो शरीर, लुरे हातखुट्टा, लामो गर्दन र ठूलो टाउको देखेर कवि भूपि शेरचन तिमीलाई ‘बुँख्याःचा’ भन्थे । कवितै लेखे ।
ल त बुँख्याःचा, तिम्रा समकालीन साहित्यकार साथीमा भूपि शेरचनको नाम अग्रणीमा आउँछ । तिम्रो माध्यमबाट म पनि उनको नजिक भएँ । साहित्यकारको नाताले न सही, श्रोताको नाताले, मान्छेको नाताले । चुम्बकीय व्यक्तित्वका धनी कवि भूपिलाई हाम्रो आफ्नै मायालु सम्बोधन थियो, ‘भूपि दाइ ।’ उनलाई मैले आफ्नै ढंगले चिनेकी छु । यस्ता चुम्बकीय व्यक्तित्व ‌औंलामा गन्न पाइन्छ । कुनै पनि उमेर र श्रेणीमा उत्तिकै पपुलर । वृद्धवृद्धामाझ जमाएर बसेको देखेँ, समकालीनबीच त कुरै नगरौं, टीनएजरलाई नि लठ्याएको देखेँ । बालबालिकाबीच बालकै भएर घुलमिल गर्न सक्ने । तासका जादू, सलाईका सिन्का र रुमालका जादू देखाएर रम्नसक्ने । हँसाउँदा एउटा पेट मात्रै हाँसो थाम्न पर्याप्त नहुने । ढोकाबाट भित्र पस्नासाथ वरिपरिका साराले घेरिहाल्ने । सानाहरूलाई केही किन्न पठाउँदा उब्रेका पैसा फिर्ता नलिने । यतिले मात्र कहाँ पूरा हुन्छ र उनको लोकप्रियता ! मीठो र सुरिलो आवाज, अर्कै विशेषता । सुनेको थिएँ, बनारस स्कुलमा पढ्दा उनी र उनको दाइको आवाजले स्कुल एसेम्ब्लीमा सारा विद्यार्थीको आवाजलाई लिड गर्थ्यो रे ।
धेरै वर्षअघिको सम्झना कोट्याउँ । इन्द्रचोकको हल, स्टेजसहितको कोठा, कवि गोष्ठी थियो । तिमीले मलाई पनि लिएर गएकी । त्यहीबेला उनको प्रथम दर्शन पाएकी । बनारसबाट आएको भन्थे । उनले ‘निर्झर’ कविता पाठ गरे । अति मीठो, झरर झरना बगिरहेको आभास दिलाउने । मुग्ध भएर सुन्नेमा म मात्र होइन, सारा श्रोता थिए । उत्कृष्ट कवि मात्र ठानिन, जुझारु व्यक्ति पनि ठानें । केही तत्त्व पसेका रहेछन्, गडबड गर्न । स्टेजमा उभिएर उनले कड्केर ललकारे, ‘गुन्डागर्दी नै गर्ने मनसाय भए इन्द्रचोकका अरू गल्लीमा गुन्डागर्दी गर्नुहोला । यस शान्त कवि गोष्ठी बिथोल्ने प्रयास नगर्नोस् ।’ ठाडै चुनौती दिने कस्तो बेजोडको आँट । मुरीमुरी प्रशंसा गरेँ ।
पुरानो नगरपालिकाको क्षेत्र, रणमुक्तेश्वर छेउछाउ हुन सक्छ, एउटा ठूलै हलमा विराट साहित्यिक कार्यक्रम थियो । पुरानो र नयाँ पुस्ताका साहित्यकारको ठूलै जमघट थियो । भूपि दाइ, वासु शशी, भवानी भिक्षु र अरू धेरै थिए । नाटककार बालकृष्ण समले नवरस अभिनय गरेर देखाए । तिमीले कुन कविता पाठ गर्‍यौ, सम्झना भएन । ‘जूनले वशीकरण गरेको रात’ यी चार शब्द याद छ । कवितामा हिन्दी शब्द बढी प्रयोग गर्ने भएकीले पारिजातका कवितामा कुनै महानुभवले कमेन्ट गर्न मानेनन् रे । अँ, एउटा उदेकलाग्दो तथ्य, भवानी भिक्षुले लय हालेर कविता पाठ गर्दा नयाँ पुस्ताका केही कवि मरीमरी हाँसे । लेघ्रो तानेर वाचन गरेकाले हो या कविता सुनेर । उनको कविताको एक लाइन अझै सम्झन्छु, ‘रस वर्षणमा अवरोध किन ?’
वटुको डेरामा हुँदा भूपिका कतिपय उत्कृष्ट कविता जन्मे । उनकै मुखारविन्दबाट कतिपय कविताका रसास्वादन गरें । वटुमै बस्ने निर्मल लामा, लक्ष्मण राजवंशीजस्ता प्रगतिशील विद्यार्थी नेतासँग उनको घनिष्ठता थियो । यी नेताहरूका जोडदार प्रभाव उनमा नपरेको भन्न मिल्दैन ।
अपराजिता, तिमी र भूपि दाइको मित्रता पनि झ्यांगिँदै गयो । त्यस बखतसम्म हिँडडुल गर्न सक्थ्यौ । उनको डेरामा तिमीहरूको भेटघाट प्रायशः भइरहन्थ्यो । कहिलेकाहीँ म पनि तिम्रो साथ लागेर जान्थेँ । नजिकै गल्लीमा उत्तम रेस्टुराँ थियो, अति व्यस्त र चल्तीको । भेला भएका सबैका निम्ति उनी पाउरोटी, अमलेट र चिया अर्डर गरेर चिट रेस्टुराँमा पठाउँथे । हदभन्दा बढी फुर्मासी गर्थे ।
उनका कविताले मन छुन्छन्, चित्त बुझ्छ र माहोल जम्छ । ‘मैनबत्तीको शिखा’ पढेर रानी जगदम्बाका पनि आँखा रसाएका थिए रे ! उनका व्यंग्यात्मक कविता धेरैले अति रुचाए । साहित्यिक दृष्टिकोणले मूल्यांकन गर्न मेरो स्तर कसै गरे पनि पुग्दैन । त्यसैले साहित्यकार हरि अधिकारीको भाषा खुसुक्क चोरें । उनी लेख्छन्, ‘सानासाना, चुटुक्क परेका चुट्किलाजस्ता, व्यंग्यका पाइन हालिएका, सरल सहज बोधगम्य विम्ब प्रयोग गरिएका, समाजमा फैलिएका विकृति र विसंगतिमाथि कठोर प्रहार गर्ने उनका कविता प्रकाशमा आएको समयमा आधुनिक नेपाली कविताका मुख्य स्वर मात्र होइन, एक प्रकारले मानक नै ठानिएका थिए । नेपाली साहित्यका पाठक, अध्येता र समालोचक सबैले शेरचनलाई आ–आफ्ना ठाउँबाट स्वतःस्फूर्त किसिमले आधुनिक नेपाली कविताका सर्वाधिक मुखर हस्ताक्षरका मान्यता दिएका थिए ।’
‘सेन्स अफ ह्यूमर’ उनमा कुटीकुटी भरिएको पाएँ । एउटा रमाइलो घटना सम्झेँ । ‘आज भूपिलाई चाउचाउ खुवाउने !’ मलाई चाउचाउ बनाउने काम सुम्पियौ । हाम्रो घरका सबैले हरियो धनियाँ खुबै रुचाउने । म त धनियाँ मसिनोसँग काटेर भातमा छरेर खाने । त्यस दिन धनियाँको मात्रा निकै थियो । आफैंजस्तो ठानेर बेस्कन धनियाँ हालेँ । बढी भएका धनियाँ मसिनोसँग काटेर थालमा हालेर सर्भ गरेँ । खाइसकेपछि तिमीतिर फर्केर उनले भने, ‘पारिजात, तिमीले मलाई चाउचाउ खान बोलाएको कि घाँस ?’ बस्, के थियो, हाँसेर सब लोटपोट । हामी बेहाल भयौं ।
खाइसकेपछि भूपिले मुख पुछ्ने रुमाल मागे । एउटै सेतो भुवादारी रुमाल, त्यही पनि धेरै पुरानो । भुवा खसेर कागजजस्तै कडा भएको । मुख पुछ्दापुछ्दै मतिर हेरेर भने, ‘सुकन, यो तिम्रो मुख पुछ्ने रुमाल हो कि स्यान्ड पेपर ?’ हुन पनि स्यान्ड पेपर– खाक्सीजस्तै थियो रुमाल, मुखै खोस्रेर लाने । अर्को हँसोको फोहोरा छुट्यो । सबैलाई चिया पकाएर खुवाउने जिम्मा मेरो थियो । ‘अलिकति चियापत्ती, चिनी, दूध र पानी खाएर स्टोभमा पेट सेकाए त पेटमै पाक्छ नि चिया,’ उनी भन्थे ।
बनारसबाट आएलगत्तै शायर मजाजका अन्ध फ्यान थिए भूपि । यति डुबेर मजाजका ट्राजिक जीवनका कथा सुनाउँथे, म त उनमा मजाज नै देख्थेँ । पागलप्रेमी मजाज दुःख बिर्सन मदिरा पिउँथे । उनको अधिकांश समय मदिरालयमै बित्थ्यो । मध्यरातमा मदिरामा धुत्त परेर कोठामा फर्किंदा बाटोमा पर्ने साथीलाई, ‘...अभी से आ गए ?’ र, सखारै अँध्यारोमा कोठाबाट निस्किँदा त्यही साथीलाई, ‘अभी तक सो रहे हो ?’ भन्थे रे । उनी हामीलाई मन्त्रमुग्ध पार्नेगरी मजाजका शायरी कण्ठस्थ सुनाउँथे । ‘ए गम ए दिल क्या करुँ, ए बहस के दिल क्या करुँ ?’ यो शायरी सुनेको उनीबाटै । म्हयपीको घरमा आएर पनि हामी तलत महमुदको आवाजमा यो गजल सुन्ने गथ्यौं, अझै सुन्ने गर्छु । मन छुन्छ, एक किसिमको दुखाइको आनन्द मिल्छ । विचार र विचारले निर्देशित अनुशासनले मात्र भावनाको वेगलाई रोक्न त गाह्रै हुने रहेछ ।
अँ, भूपि दाइको अर्को मन छुने उद्गार । एक कवि बिरामी साथीलाई भेट्न गए रे ।
‘कैसे हँ, यार ?’
‘क्याँ करुँ, बिस्तर से उठा नहीं जाता ।’
भोलिपल्टै ती साथीको निधन भएको दुःखद घडीमा कवि साथीले भनेछ,
‘कल तक तो कहते थे बिस्तर से उठा नहीं जाता, आज इतनी लम्बी सफर को चल दिए ?’ यही उदगार भूपि दाइ मनको गहिराइबाट व्यक्त गर्थे । ‘यो उद्गार अति मूल्यवान छ, मेरा सारा कृतिले पनि यसको उचाइ भेट्न सक्दैन ।’
अर्को एक घटना याद आयो । पुतलीसडकमा सडकछेउकै हाम्रो कोठामा पुरानो शैलीको झ्याल थियो, भेन्टिलेशन नभएको । राति तिम्रो सिरानपट्टिको झ्यालका खापा आधा उघारेर राख्नुपर्थ्यो हावाका लागि । सडकको आवाज कोठाभित्र प्रस्ट सुनिन्थ्यो । आधा रातमा केही पुरुषको गाइँगुइँ आयो, हाम्रो नाम बोलाएको सुनियो । उनीहरूको मकसद निश्चय नै ठीक लागेन । त्यही कुरा हामीले भूपि दाइ, दया दिज्यु र ज्यानुलाई (दया दिज्युकी बहिनी) लाई सुनायौं । उनीहरू रिसले तात्तिए ।
त्यसो त दया दिज्यु र ज्यानु साँझ प्रायशः भेटघाट गर्न, दुख्ख–सुख्ख बुझ्न र सहयोगका हात बढाउन आउँथे र जमघटमा सामेल हुन्थे । ज्यानु एक अत्यन्त स्वाभिमानी, आत्मविश्वासी, निडर र तर्कशील महिला हुन्, जसलाई रानी लक्ष्मीबाई (झाँसीकी रानी) भन्ने गर्थें । उनीसमेत हाम्रो समस्या सल्ट्याउन लागिपरेका देख्दा ढुक्क भयौँ । त्यस घटनापश्चात् उनीहरू केही समयसम्म दिनहुँ आए र हामीकहाँ बिताउने अवधि लम्ब्याएर बसे, कथंकदाचित ती बदमासहरू आइहाले तह लगाउन । तर, यस्तो घटना फेरि दोहारिएन ।
धेरै निकट भइसकेका थिए भूपि दाइ हामीसँग । काम परेर सिंहदरबार गएको बेला होस् अथवा पुतलीसडकबाट हिँड्नुपर्ने बेला, हाम्रो डेरामा पसी मुख मात्र भए पनि देखाएर जान्थे । एक साँझ दस–बाह्र जना साथी लिएर आए, दुई वरिष्ठ सरकारी कर्मचारीसँगै । कोठा सानो भएकाले उनी मात्रै भित्र पसे । बाँकीचाहिँ ढोका र भर्‍याङभरि उभिएर बसे । त्यो दिन उनले साथीहरूलाई कुनै रेस्टुराँमा दावत दिएको भान हुन्थ्यो । हाम्रो कोठामा केही क्षणअघि मात्रै घरपतिबाट विशेष पर्वको उपलक्ष्यमा भोजको भाग आएको थियो । नेवारको भोजमा रक्सी नहुने त सवालै भएन । ठूलो लपेसमा भोजको परिकार देखेपछि रक्सीको प्याला टपक्क टिपेर उनले सोधे, ‘कोही छ पिउने ?’ एक जना वरिष्ठ कर्मचारी भित्र पसेर भुइँमा घुँडा टेकेर मुख ‘आँ’ गरे । रक्सी स्वाट्ट पिएर भूपि दाइ कड्किए, ‘लाज लाग्दैन तिमीहरूलाई यहाँ आएर रक्सी पिउँछु भन्न ? ल हिँड, म तिमीहरूलाई जति भने पनि पिलाउँछु ।’ नभन्दै फुत्त बाहिर निस्किए, अरू सबै पछि लागे । मलाई उनीहरूको मानसिक दरिद्रता देखेर दया लाग्यो । प्रश्न मनमा जाग्यो, भूपि दाइ किन यस्तरी पैसा उडाउँछन् ?
पुतलीसडककै भित्री डेरामा सरिसकेपछि तिमीहरूको भेटघाट पातलिँदै गयो । उनी औषधि गर्न भारततिर गए भन्ने सुनियो । एकपटक एक युवा गायक लिएर आए, जसको सुमधुर स्वरमा मीठामीठा गीत सुन्ने अवसर मिल्यो । म्हयपीको घरमा सरेपछि पनि त्यही गायकलाई लिएर आए । तिमी घरमा थिएनौ, मैले मात्र गीत सुनें । खुलेरै भनौं, त्यस बेलासम्म तिमीहरूको सुमधुर सम्बन्ध चिसिसकेको थियो, स्थानको दूरीले गर्दा मात्रै होइन, मनकै दूरीले गर्दा पनि ।
कोही भन्थे, भूपिले प्रज्ञा प्रतिष्ठानको जागिर खाए, राजाको जन्मदिनमा शुभकामना टक्य्राए, राजावादी भए । उनी आफैँले स्विकारेका थिए, ‘मलाई तीनवटा क, कविता, कम्युनिस्ट र क्रान्तिले बिगारे ।’ प्रतिरोधस्वरूप तिमीलगायत प्रगतिशील समकालीन साहित्यकारहरू उनीसँग चिढिए । ‘भूपि दिलले होइन, दिमागले लेख्छन्’ उनका अन्तरंग प्रगतिवादी मित्रहरू यसै भन्थे । मलाई यो पहेली बुझ्न धेरै गाह्रो भो ।
यस सम्झनाको तरंग टुंग्याउनुअघि फेरि एकचोटि हरि अधिकारीका महत्त्वपूर्ण वाक्य उद्धृत गर्न चाहन्छु । ‘शेरचनमा जुन उच्चकोटिको सिर्जनात्मक प्रतिभा थियो, त्यो उनले जानी वा नजानी अपनाएको असन्तुलित र आत्मपीडक जीवनशैलीका कारण राम्रोसँग उपयोग नै हुन नपाई खेर गएको कुराको सम्झनाले मेरो मन अमिलो भएको छ ।’ ‘जानी वा नजानी अपनाएको असन्तुलित र आत्मपीडक जीवनशैली’ ले मेरो दिमाग पनि चस्काउँछ । यी शब्दले गहन माने बाकेको भान हुन्छ मलाई । तिमीलाई कस्तो लाग्यो, अपराजिता ?

कोसेली

यो देशलाई अझै मेरो खााचो छ

- भूपाल राई

आधा शताब्दीभन्दा पुरानो हो
यो एउटा वृत्तान्त कहानी
जहाा कथाले माग्दै नमागेको एउटा यस्तो अध्याय छ
कि कसैले चाहे पनि नचाहे पनि
सम्झिनू
यो देशलाई अझै मेरो खााचो छ

सम्झिनू
मेरो आदेश बिना पनि चल्छ
संघीय सचिवालयको सिलिङ पंखा
चल्छ राष्ट्रिय योजना आयोगका फाइलहरु
कार्यकारी टोपी
पुलिसको फुली
माननीयको राष्ट्रिय पोसाक
न्यायमूर्तिको कालो कोट
सबका सब मबिना पनि
चल्छ स्वचालित धन्दा
सत्य हो कोही कसैलाई मेरो केही खााचो छैन
मात्र छ कसैलाई भने
यो देशलाई अझै मेरो खााचो छ

खााचो छ
तर, यसको अर्थ यो होइन कि
बिलकुल अनाथ हुनेछ देश मबिना
ढल्नेछ गर्ल्यामगुर्लुम
७२ सालको धरहराझौ
दुई तिहाइ शरीरमा गेरूवा रङ पोतेको सरकार
अवरूद्ध हुनेछ नागरिकता विधेयकको नाममा
चालु संसद्को अधिवेशन
निभ्नेछ झ्याप्प सुहागरातको बत्तीझैं
ट्राफिक लाइट र सडकका ल्याम्पपोस्टहरु
जाम हुनेछ शीतलनिवासअगाडिको चौराहा
र, रोकिनेछ महामहिम राष्ट्रपतिको साही सवारी
तर त्यस्तो केही हुने छैन
बिलकुल हुने छैन केही
मात्र यो देशलाई अझै मेरो खााचो छ

यस्तो पनि होइन
कि बन्द हुनेछन् एकाएक
डाबर हनी र च्यवनप्रासका विज्ञापनहरु
पक्रिनेछ सबभन्दा पहिले
सुरक्षा निकायले आफ्नै खोपडीको अपराध
सिलाउनेछ सरकारी सिलाइ कारखानाले
बगलीबिनाको कमिज
उड्नेछ जुगल हिमालको काखतिर
आइरन चक्की बोकेर सुपर पुमा हेलिकप्टर
एकै झुल्को सही
झुल्किनेछ प्रधानमन्त्रीको दिमागमा
अक्कलसिं आलेको आाखा
भिखन चौधरीको छाला
र ढेगनी देवीको फरिया
तर त्यस्तो केही हुने छैन
हुने छैन केही पनि
तैपनि यो देशलाई अझै मेरो खााचो छ

बिनाअवरोध, बिनानियमापत्ति
सच्याउनेछ संविधान आफैंले
राष्ट्रिय जनावरको महल
र सनातन धर्मको धारा–४
उत्रिनेछ सुनको रेलभन्दा अगाडि
पानीको विभेद मेट्ने फलामको डोजर
र जित्नेछु केही हजार वर्षदेखि
मैले लड्दै आएको मेरो सौन्दर्यको लडाइा
तर त्यस्तो केही हुने छैन
बिलकुल हुने छैन केही पनि

देश
जहाा मबाहेक
बााकी सब सुरक्षा घेराभित्र छन्
र टाउकोमा हिउा जमाएर
एकै ठाउा जमेर बसेका छन्
जसका लागि सबैले गाली गर्ने
सधैं सरापिरहन मिल्ने
मजस्तै एउटा खलपात्रको खााचो छ
मजस्तै एउटा दुश्मन विचारको खााचो छ
म छु र नै त तिनीहरु गाली बर्साउाछन्
छट्पटाउाछन्
र केही हलचल महसुस हुन्छ

म नहुादो हुा त
कहाा खपत हुन्छ शासकको महागो गोली ?
कसरी चल्छ अदालतको गोरखधन्दा ?
कसले लेख्छ सहानुभूतिको धुरन्धुर आख्यान ?
माननीयको भत्ता
पुलिसको फुली
हाकिमको गोजी
व्यापारीको नाफा
सबथोक मेरै कारणले चलिरहेछ
म छु र नै त
आहालजस्तो जमेको देश चल्मलाउाछ
गति पैदा हुन्छ
र, देश छ जस्तो लाग्छ
बस् यत्तिकै लागि भए पनि
यो देशलाई अझै मेरो खााचो छ ।।