You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

झन् कसियो गाँठो

प्रतिनिधिसभा सभामुखविहीन भएको चार महिना बितिसक्यो । सत्तारुढ नेकपाका दुई अध्यक्षहरु सभामुख पद ‘खोसाखोस’ मै अल्झिएका छन् । उनीहरुको अडानले सभामुख चयनमा झनै अन्योल बढेको छ ।
- बिनु सुवेदी

(काठमाडौं) - प्रतिनिधिसभा सभामुखविहीन भएको चार महिना बितिसक्दा पनि सत्तारूढ नेकपाका नेताहरूले साझा उम्मेदवार तय गर्न नसकेपछि सभामुख चयनको विषय झन् सकसपूर्ण बनेको छ । शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच करिब तीन घण्टा भएको छलफल पनि टुंगोमा पुग्न सकेन ।
‘आइतबार डाकिएको संसद् बैठक भरसक स्थगित गर्न नपरोस् भनेर उहाँहरू छलफलमा जुट्नुभएको थियो,’ अध्यक्षद्वय निकट स्रोतले कान्तिपुरसँग भन्यो, ‘तर सहमति भएन, तत्काल सहमति हुने गरी छलफल अघि बढेको पनि देखिएन ।’
छलफलमा अध्यक्ष दाहालले एकीकरणपूर्वको सहमतिअनुसार पूर्वमाओवादीलाई सभामुख दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । ‘सचिवालयका नौ सदस्यमध्ये चार जना त हामीलाई सभामुख दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, बादलजी (गृहमन्त्री रामबहादुर थापा) को पनि सभामुख यतै हुनुपर्छ भन्ने लाइन हो,’ दाहालको भनाइ उद्धृत गर्दै उनीनिकट नेताले भने, ‘विषय टुंग्याइहालौं, तपाईंले अडान छाड्नुपर्‍यो ।’
प्रधानमन्त्री ओलीले भने सरकार एक जनाले र दल एक जनाले चलाउने गरी सहमति भएपछि सभामुख पनि सरकार सञ्चालनमा सहज हुने गरी चुन्नुपर्ने र त्यसका लागि आफैंले रोजेको व्यक्ति चाहिने बताएका थिए । ‘तपाईंले छुट्टाछुट्टै भेला गरेर हाम्रा यति टाउका छन् भनेर बार्गेनिङ गर्नुहुन्छ, पछि संसद्बाट सहयोग हुन्छ भन्ने के ग्यारेन्टी छ ?’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मलाई सरकार सञ्चालनमा सजिलो पारिदिनुस् ।’ ओलीले दाहालसँग छुट्टै गठबन्धन भेला गरेर राम्रो नगरेको बताएका थिए । ओली र दाहाल आ–आफ्ना कुरामा अडिग रहेपछि सभामुख चयनको विषय
पेचिलो बन्दै गएको छ ।
यसअघि पनि उनीहरूले सभामुखका बारेमा धेरै पटक छलफल गरिसकेका छन् । अध्यक्षद्वयबीच कुरा नमिलेकै कारण संसद्को बैठक झन्डै एक महिनादेखि स्थगित छ । एकतापूर्व वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रले राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्ष एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादीलाई भागबन्डा गरेका थिए । संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेर तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ मा राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन छ ।
प्रधानमन्त्री ओलीले तत्कालीन सभामुख महराले सरकारका कतिपय काममा सघाउ नपुर्‍याएको र अहिले सरकारले गर्नुपर्ने काम धेरै रहेको भन्दै सभामुख आफूअनुकूल व्यक्तिलाई बनाउन खोजिरहेका छन् । पूर्वमाओवादी नेताहरूले सभामुख कुनै पनि हालतमा पूर्वएमालेलाई नसुम्पिन अध्यक्ष दाहाललाई दबाब दिँदै आएका छन् ।
सभामुख कुन पक्षबाट बनाउने भन्नेबारे शीर्ष नेताबीच तानातान हुँदा त्यसको चेपुवामा उपसभामुख शिवमाया तुम्बाहाङ्फे परेकी छन् । प्रधानमन्त्री ओली नयाँ सभामुखबारे सहमति नहुँदासम्म तुम्बाहाङ्फेलाई उपसभामुखबाट हटाउन चाहँदैनन् । उनी आफूले अगाडि सारेका नेकपा स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङबारे सहमति भएन भने पूर्वमाओवादीको साटो तुम्बाहाङ्फेलाई सभामुख बनाउन चाहन्छन् । तुम्बाहाङ्फे पूर्वएमाले र त्यसमा पनि ओली पक्षकै भएकाले उनलाई सहज पनि हुनेछ । उपसभामुख स्वयंले पनि सभामुखमा आफ्नो स्वाभाविक दाबेदार रहेको बताउँदै आएकाले त्यसलाई तर्कसंगत रूपमा लिँदै उनलाई अघि सार्न सकिने विकल्पबारे प्रधानमन्त्रीले सोचिरहेका छन् । पूर्वमाओवादी पक्षधरको भनाइ भने फरक छ । उनीहरू पहिले उपसभामुखले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएमा सभामुखका लागि उनको ‘च्याप्टर क्लोज’ हुने र दुई पात्रका विषयमा मात्रै छलफल गर्दा आफ्नो पल्ला भारी हुने आकलन पूर्वमाओवादी नेताहरूले गरिरहेका छन् । उनीहरूले उपसभामुखले मैदान खाली नगरिदिएसम्म अरू विषयमा छलफल हुनै नसक्ने तर्क गर्न थालेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुखले राजीनामा नदिएसम्म नेकपाले सभामुखका लागि उम्मेदवारी दिन नपाउने भएकाले सभामुख को बन्ने भनेर छलफल गर्नुअघि उपसभामुखको राजीनामा आउनुपर्ने बताए । ‘सभामुख हाम्रो पार्टीले लिन पाउने हो कि हैन, निश्चित नभएसम्म के छलफल गर्ने ?’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘उहाँले राजीनामा दिएपछि मात्रै हाम्रो पार्टीले सभामुखमा उम्मेदवारी दिन मिल्यो, नत्र त मिल्दैन नि !’ यसअघि नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पनि यस्तै अभिव्यक्ति दिएका थिए । बुधबार भैंसेपाटी भेलामा अध्यक्ष दाहालले पनि उपसभामुखले राजीनामा दिएपछि मात्रै सभामुखबारे छलफल गर्न सहज हुने बताएका थिए ।
उपसभामुखले भनिन्– मलाई महाअभियोग लगाउनुस्
तुम्बाहाङ्फेले आफूलाई सभामुख नबनाउने भए महाअभियोग लगाएर हटाउन नेकपाका अध्यक्षद्वयलाई चुनौती दिएकी छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षहरू ओली र दाहालसँग भएको भेटमा उनले सभामुखको आफू स्वाभाविक दाबेदार भएको बताउँदै सहमति गर्न आग्रह गरेकी हुन् । ‘मैले राजीनामा दिन्नँ भनेकै छैन,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कि मलाई सभामुख बनाउने ग्यारेन्टी गर्नुस् कि अन्य निकास दिनुस् ।’
अध्यक्षद्वयले सहमति नगरे आफूले आइतबारको बैठकबाट सभामुख चयन प्रक्रिया अघि बढाउने चेतावनी पनि उनले दिएकी छन् । ‘तपाईंहरूले सहमति गर्नुभएको छैन, अनि मलाई दोष दिनुहुन्छ, मैले गर्दा सभामुख चयनमा बाधा पुग्यो भन्ने छ भने मलाई महाअभियोग लगाएर हटाउन पनि सक्नुहन्छ, त्यसै गर्नुहोस् न त,’ उनले भनिन् । संविधानको धारा १०१ मा एक चौथाइ सांसदले पदाधिकारीविरुद्ध महाअभियोग प्रस्ताव पेस गर्न सक्ने व्यवस्था छ । उक्त प्रस्ताव दुई तिहाइले पारित गर्नुपर्छ । उनले संविधानको उक्त धारा प्रयोग गरेर आफूलाई हटाउन अध्यक्षद्वयलाई चुनौती दिएकी हुन् । ‘म महिला भएर मात्रै यसो भनिरहेको छैन, ०३७ सालदेखि राजनीतिमा थिएँ, विद्यार्थी आन्दोलनबाट आएको हुँ, अनुसन्धानकर्ता, अधिवक्ता र आन्दोलन बुझेको नेता हुँ,’ उनले भनिन्, ‘ममा सभामुख बन्नका लागि आवश्यक पर्ने १२ वटा योग्यता छन् ।’ उनले नेताहरूको असहमतिले आफूलाई चेपुवामा पार्न खोजेको गुनासो पनि गरेकी छन् ।
तुम्बाहाङ्फेले श्रेष्ठ र गुरुङले आफूलाई विवादमा तान्न खोजेको भन्दै आपत्ति जनाएकी छन् । ‘एउटा सहमति नहुँदासम्म संसद्मा भ्याकुम नहोस् भनेर मैले राजीनामा नदिएकी हुँ,’ तुम्बाहाङ्फेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर मेरै कारण सभामुखको चुनाव हुन नसकेको जस्तो गरी उहाँहरूको अभिव्यक्ति आयो । यो ममाथिको राजनीतिक हिंसा हो ।’ तुम्बाहाङ्फेले आफू सभामुखको दाबेदार भएको र तत्कालीन सभामुख कृष्णबहादुर महराको गल्तीमा आफूलाई सजाय दिन उचित नहुने धारणा अध्यक्षहरूसँग राखेकी छन् । ‘मैले मलाई सभामुख बनाउनुपर्ने कारणहरू स्पष्टसँग भनेको छु, उहाँहरूले रुचिपूर्वक सुन्नु पनि भएको छ,’ उनको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘तर उहाँहरू (अध्यक्षद्वय) ले मुखै खोलेर स्पष्ट रूपमा यही गर्छौं भन्नुभएन । गोलमटोल जवाफ दिनुभयो ।’
तुम्बाहाङ्फेले यसअघि बारम्बार दुवै अध्यक्षसँग संयुक्त रूपमा भेट्न खोजिरहेकी थिइन् । तर उनीहरूले समय नदिँदा उनको प्रयास सफल हुन सकेको थिएन । सूचना आयोगका नवनियुक्त आयुक्तहरूलाई शपथ खुवाउने क्रममा बुधबार प्रधानमन्त्री ओलीसँग शीतल निवासमा भेट भएपछि उनले संयुक्त छलफल गर्ने प्रस्ताव राखेकी थिइन् । त्यसपछि मात्रै शुक्रबार बिहान उनले दुई अध्यक्षसँग भेटेकी हुन् ।

मुख्य पृष्ठ

ट्रस्टको जग्गामा भवन निर्माण रोक्न आदेश

- कृष्ण ज्ञवाली

(काठमाडौं) - उच्च अदालत पाटनले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गामा भइरहेको भवन निर्माणको काम ‘यथास्थितिमा राख्न’ अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सम्झौताअनुसारको काम आगामी माघ १ गतेसम्म रोक्न आदेश दिएको हो ।
भवन निर्माण गरी ३० वर्षे अवधिमा ६ अर्ब ४५ करोड रुपैयाँ बुझाउने प्रस्ताव गरेको थामसेर्कु डेभलपर्ससँग एक अर्ब ५९ करोड रुपैयाँमा नेपाल ट्रस्टले ठेक्का सम्झौता गरेको भन्दै अधिवक्ता परिवर्तन राईले ठेक्का बदर गर्न माग गरी उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले सार्वजनिक महत्त्वको र कानुनी प्रश्न समावेश भएको मुद्दामा एमिकस क्युरी (अदालतका सहयोगी) झिकाउनसमेत आदेश दिएको छ ।
अघिल्लो मितिमा बढी रकममा सम्झौता गर्न बोलाएर पत्र पठाएको ट्रस्टले पछि कम रकममा सम्झौता गरेको भन्दै उच्च अदालतले प्रारम्भिक दृष्टिकोणमै त्यसलाई ‘कानुनको प्रतिकूल’ ठम्याएको हो । निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ निकाय र थामसेर्कु डेभलपर्सलाई विपक्षी बनाइएको थियो । ठेक्का पाउने कम्पनी थामसेर्कु डेभलपर्स भए पनि अदालतको आदेशमा ‘थामसेर्कु ट्रेकिङ’ उल्लेख छ ।

‘यसरी गरेको पत्राचार प्रथम दृष्टिमै सार्वजनिक खरिद ऐन र नियमावलीको व्यवस्थाको प्रतिकूल देखिएको छ,’ आदेशमा भनिएको छ, ‘सम्झौताबमोजिमको कार्य सुरु भइनसकेको भनी निवेदकका कानुन व्यवसायीले इजलासमा अवगत गराउनुभएकाले छलफलका लागि माघ १ गतेसम्म सम्झौता जे जुन अवस्थामा छ, यथास्थितिमा राख्नू, सम्झौताबमोजिमको कार्य अघि नबढाउनू ।’
ट्रस्टको कार्यालयले २०७३ फागुन १८ मा थामसेर्कु डेभलपर्स प्रालिलाई उसले पेस गरेको आर्थिक प्रस्तावअनुसारै ६ अर्ब ४५ करोड ३७ लाखमा सम्झौता गर्न आउनु भनी पत्र पठाएको थियो । त्यसमा अरू तीन वर्ष जोड्दा ट्रस्टले पाउनुपर्ने रकम ६ अर्ब ९७ करोड पुग्छ । तर त्यति रकम नतिर्ने मनस्थिति बनाएको थामसेर्कुले आफूले एक अर्ब ४० करोड रुपैयाँको प्रस्ताव गरेको र त्योभन्दा बढी तिर्न नसक्ने जवाफ लेख्यो । ट्रस्टको कार्यालयले २०७४ वैशाख ६ मा पत्र पठाई एक अर्ब ५९ करोड २० लाख रुपैयाँमा सम्झौता गर्न आउनु भनी बोलाएको थियो । अघिल्लोको तुलनामा बढेको १९ करोड रुपैयाँ भने भवन निर्माणको लागत हो ।
दरबारमार्गस्थित जग्गामा भवनको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ, ‘फिनिसिङ’ को काम बाँकी छ । उच्च अदालतको आदेशबमोजिम माघ १ सम्म ठेकेदारले काम रोक्नुपर्नेछ । ‘निवेदनमा उठाइएको सार्वजनिक महत्त्वको विषय र कानुनी प्रश्नलाई दृष्टिगत गरी सुनुवाइमा अदालतको सहयोगी (एमिकस क्युरी) का रूपमा दुई जना वरिष्ठ वा अधिवक्तालाई उपस्थित गराइदिनू भनी मिसिल संलग्न कागजातको प्रतिलिपि उच्च अदालत बार एसोसिएसनलाई दिनू ।’
अदालतका सहयोगीले न्याय निरूपणका क्रममा सघाउ हुने गरी इजलासलाई आफ्नो राय दिनेछन् । नेपाल ट्रस्टको सञ्चालक समिति बैठकले २०७१ साउन २८ मा दरबारमार्गको एक रोपनी १४ आना जग्गा लिजमा दिने कार्यक्रम स्वीकृत गरेको थियो । त्यहीअनुसार ६ कम्पनीले भाग लिएकोमा अवधि नाघेपछि थामसेर्कु डेपलपर्सले राखेको प्रस्ताव स्वीकृत गरिएको थियो ।
थमसेर्कुले नेपाल ट्रस्टको कार्यालयमा बुझाएको प्रस्तावको सारांशमा रकम भुक्तानी गर्ने अवधि, कुल वर्ष र त्यसको दर उल्लेख छ । उक्त तालिकामा रहेको दर र वर्ष हिसाब गर्दा तीनवर्षे निर्माण अवधिसमेत जोडेर ३० वर्षमा थामसेर्कुले ६ अर्ब २६ करोड ३१ लाख ३२ हजार ३ सय ७० रुपैयाँ नेपाल ट्रस्टलाई बुझाउने भनेको छ । अनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार त्यसमा १९ करोड २९ लाख ६५ हजार रुपैयाँ भवन निर्माण खर्चसमेत जोडेर ६ अर्ब ४५ करोड ६६ लाख रुपैयाँमा सम्झौता गर्न सचिवस्तरबाट स्वीकृति
दिइएको थियो ।
ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्कीले ६ अर्ब ४५ करोड रुपैयाँमा सम्झौता हुनुपर्ने भनी निर्णय गरेर आफूमा भएको अधिकार सहसचिव लेखबहादुर कार्कीलाई प्रत्यायोजन गरिदिएका थिए । सहसचिव कार्कीले सचिवको सिफारिस होइन, थामसेर्कुले चतुर्‍याइँपूर्वक पेस गरेको दररेटकै योगफल तयार गरेर ठेक्का सम्झौता गरिदिए । उनको हिसाबअनुसार थामसेर्कुले पेस गरेको सबै दररेटको हिसाब जोड्दा ३० वर्षको अवधिमा उसले जम्मा १ अर्ब ४० करोड १० लाख रुपैयाँ ट्रस्टलाई बुझाए पुग्छ । त्यसमा भवन निर्माण गर्दा लागेको थामसेर्कुको १९ करोड २० लाख रुपैयाँ लागतसमेत जोडेर नेपाल ट्रस्टले एक अर्ब ५९ करोड ४० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यसरी आफ्नो काम गरिदिएका कार्कीलाई यति समूहका सञ्चालक आङछिरिङ शेर्पाले उनको इच्छाअनुसार भौतिक योजना तथा निर्माण मन्त्रालय पुर्‍याइदिन खोजेका थिए । त्यहाँ नभए पनि पुनर्निर्माण प्राधिकरणको सचिव बनाइदिए ।
महालेखाको कार्यालयले पनि ६ अर्ब ४५ करोड रुपैयाँमा सम्झौता हुनुपर्नेमा एक अर्ब ४० करोड रुपैयाँमा मात्रै भएको भन्दै अनियमितता औंल्याएको थियो । उनको भनाइमा ‘बोलपत्र कागजात परीक्षण गर्दा अंकगणितीय त्रुटि पाइएमा इकाई दरका आधारमा कुल रकम सच्याउनुपर्ने’ थियो । तर नेपाल ट्रस्टको कार्यालयले राज्यकोषमा वार्षिक साढे १८ करोड नोक्सानी हुने निर्णय गरिदियो । महालेखाले प्रतिवेदनमा भनेको छ, ‘यसमा छानबिन गरी यकिन गरिनुपर्छ ।’
दुई साताअघि पत्रकार सम्मेलन गर्दै ट्रस्टका सचिव गजेन्द्र ठाकुरले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन ‘झूटो’ भनी प्रतिक्रिया दिएका थिए ।
‘उहाँहरूले लेखापरीक्षण गर्दा सबै कागजात हेर्नु भएन,’ ठाकुरले भनेका थिए, ‘संवैधानिक अंगले सबै कागजात हेरेन । मैले महालेखामा गएर भनेपछि सबै सम्परीक्षण हुन्छ ।’

मुख्य पृष्ठ

जो दोहनविरुद्ध लड्दै थिए, टिपरबाट मारिए

- अजित तिवारी,सन्तोष सिंह
धनुषा मिथिला नगरपालिका–५ का दिलीप महतो (माथि) को शुक्रबार टिपरले हानेर हत्या गरिएपछि भावविह्वल परिवारका सदस्य (बायाँ) । तस्बिर ः सन्तोष/कान्तिपुर

(धनुषा) - घर पछाडिको खोलामा लोडरले टिपरमा बालुवा, गिट्टी खन्याएको चर्को आवाज आइरह्यो, जसले उनलाई निदाउनै दिएन । खोला खोस्रिएको कर्कस आवाजले दिलीप (ओमप्रकाश) महतो शुक्रबार बिहान चार नबज्दै ब्युँझिए । अब के पो गर्ने ? उनले साथी वडाध्यक्ष श्याम यादव र छिमेककै साथी रोशन यादवलाई फोन गरेर बोलाए, नजिकै चोकमा भेट्न ।
सवा चार बजे धनुषा मिथिला नगरपालिका–५ श्रीपुर चोकमा तीनै जनाको भेट भयो । वडाध्यक्ष यादव मोटरसाइकलमा आए । रातको समयमा खोला दोहन भएको भन्दै त्यसलाई रोक्नुपर्ने प्रस्ताव दिलीपले राखे । वडाध्यक्ष यादवले रात अझै बाँकी रहेकाले ‘मोटरसाइकलमै खोलासम्म जाऔं’ भने । २४ वर्षीय दिलीपले पैदल जाँदा मर्निङवाक पनि हुने भन्दै हिँडेर जान कर गरे । त्यत्ति नै बेला वडाध्यक्ष यादवको मोबाइल बज्यो । त्यो उनका छिमेकी धर्मेश महतोको फोन थियो । ‘तपाईंको घर अगाडि बेवारिस मोटरसाइकल राखिएको छ,’ धर्मेशले यादवलाई फोनमा सुनाए । वडाध्यक्ष यादव घरतिर फर्के ।
दिलीप र रोशन खोलातिर लागे । ‘म घर पुगेको ५ मिनेटमा फोन आयो । दिलीपलाई टिपरले मार्‍यो, कहाँ हो ? छिटो खोलामा आउनुस् भनेर,’ वडाध्यक्ष यादवले कान्तिपुरसँग भने, ‘कृष्णा चौधरी भन्ने साथीले फोन गरेको रहेछ । बाइक तुफान कुदाउँदै म खोलामा पुगें । सबैतिर अँध्यारो ।’ यादवले दिलीपसँगै खोला पुगेका रोशनलाई सम्झिए । ‘र, बेस्सरी कराए
रोशन...रोशन...भनेर, अलि परबाट रोशन सुस्केरा गर्दै बोले म यता
छु भनेर’, उनले सुनाए ।
वडाध्यक्ष यादवका अनुसार उनले बाइकको लाइट बाले, रोशन
काम्दै थिए । अनुहारमा त्रास ।
पूरै नर्भसजस्तो देखिन्थ्यो । ‘रोशन र म दिलीप भएको ठाउँमा पुग्यौं,
त्यो हृदयविदारक दृश्यले म
विक्षिप्त भएँ,’ उनले भने, ‘पहिला इन्स्पेक्टरलाई र त्यसपछि दिलीपको बुबालाई फोन गरेर घटनाबारे बताएँ ।’ रोशनका अनुसार चोकबाट वडाध्यक्ष यादव घरतिर फर्किएपछि दुई जना खोलातिर लागेका थिए ।

रोशनले भने, ‘मेरो खुट्टाको शल्यक्रिया भएकाले दिलीप र मेरोबीचको दूरी २/३ मिनेटको फरकमा थियो । ऊ अघिअघि र म पछिपछि । उत्खननमा प्रयोग गरिएको लोडर र टिपरको बत्ती बालिएको थिएन । अँध्यारोले केही देखिएन । दिलीपको टाउको कुच्चिएको थियो, अलि पर टिपरसँगै केही मानिस उभिएको भेउ पाएँ । एम्बुलेन्स बोलाइदेउ भनेर बेस्सरी कराएँ । उनीहरू टिपर स्टार्ट गरेर भागे ।’ रोशनले घटनास्थलमा क्रसर सञ्चालक विपिन महतो पनि रहेको दाबी गरे ।
धनुषाको औरही खोलामा शुक्रबार बिहान ४ बजेतिर अवैध उत्खनन रोक्न पुगेका स्थानीय युवा दिलीपलाई टिपरले किचेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय, ढल्केबरका प्रमुख इन्स्पेक्टर रामकुमार यादवले दिलीपलाई टिपरले किचेर हत्या गरेको आरोपमा चालक र टिपरलाई नियन्त्रणमा लिएको बताए । ‘घटनास्थलमा पुग्दा दिलीपको टाउको कुच्चिएको थियो । नजिकै रहेको क्रसरमा पुग्दा टिपरको पछाडि चक्कामा मासु र रौं भेटियो,’ इन्स्पेक्टर यादवले भने, ‘क्रसर सुनसान थियो । प्रहरी पुग्नुअघि नै उनीहरू फरार भए ।’ धनुषा प्रहरी प्रमुख एसपी रमेश बस्नेतले पनि टिपरले किचेर हत्या गरिएको बताए । ‘अहिलेसम्मको अनुसन्धानले टिपरले किचेर मारेको देखिन्छ, थप अनुसन्धान हुँदै छ,’ उनले भने ।
प्रहरीले दिलीपलाई किचेको ना७ख ६४१३ नम्बरको टिपर र त्यसका चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतोलाई नियन्त्रणमा लिइएको छ । घटनापछि फरार चालकलाई शुक्रबार दिउँसो पक्राउ गरिएको हो । हत्यापछि चुरियामाई बालुवा, गिट्टी प्रशोधन उद्योगका सञ्चालक विपिन महतो र विनोद महतो फरार छन् । मिथिला नगरपालिका–५ का महतोद्वय दाजुभाइ हुन् । बुधबार मात्रै क्रसर सञ्चालक महतोले दिलीपका बुबा रामजीवनलाई ‘छोरालाई सम्झाइदेऊ, नत्र टिपरले किचेर मारिदिन्छु’ भन्दै धम्क्याएका थिए । दिलीपका दाजु वीरेन्द्र महतोले क्रसर सञ्चालकले उत्खननमा अवरोध गरे टिपरले किचेर मारिदिने धम्की दिएको बताए ।
हत्यापछि आक्रोशित स्थानीय शुक्रबार बिहान पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका थिए । टायर बालेर क्रसरविरुद्ध उत्तेजित बनेका स्थानीयलाई तितरवितर गर्न प्रहरीले बल प्रयोग गरेको थियो । १० राउन्ड अश्रु ग्यास प्रहारपछि स्थानीय तितरवितर भएका थिए । त्यसपछि मात्र राजमार्ग सुचारु भएको थियो ।
चोरेर उत्खनन
मिथिला नगरपालिकाले धनुषाको औरही खोलाबाट बालुवा, गिट्टी निकाल्न कागजी प्रक्रिया पूरा गरेर ईआई र अनुमतिका लागि जिल्ला समन्वय समितिमा पठाएको प्रतिवेदन स्वीकृत भएको छैन । मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले ठेक्का नै नलागेको खोलाबाट राति बालुवा, गिट्टी उत्खनन भइरहेको रहस्य दिलीप हत्यापछि मात्र आफूले थाहा पाएको बताए । ‘खोलाको ठेक्का लागेकै छैन, चोरेर खनेको हो,’ उनले भने, ‘खोलामा अवैध उत्खनन भइरहेको कसैले पनि भनेनन् ।’
खोलाकै डिलमा क्रसर र वासिङ सेन्टर खोलेका चुरियामाई बालुवा, गिट्टी प्रशोधन उद्योग भने वडाकै सिफारिसमा सञ्चालन भइरहेको छ । दुई वर्षदेखि वडाकै अनुमतिमा क्रसर उद्योग सञ्चालन गरिरहेका महतो दाजुभाइले खोलाको अवैध उत्खनन थालेपछि दिलीपले त्यसो नगर्न धेरै पटक आग्रह गरे ।
भारतको भोपालमा इन्जिनियरिङ पढिरहेका दिलीप कलेज बिदामा दुई साताअघि घर फर्किएका थिए । दिलीप बी–टेक इन्जिनियरिङ अन्तिम सेमेस्टर पढ्दै थिए । औरही खोलाको उत्खननले श्रीपुरको बस्ती र उब्जनी हुने खेत जोखिममा पर्ने भन्दै खोला खोस्रिने क्रम बन्द गराउन उनले अभियान नै थालेका थिए । खोलामै पुगेर अवरोध गर्दा धेरैपटक दिलीप र क्रसर सञ्चालकबीच विवाद भएको थियो । क्रसर सञ्चालक चिनजानकै भएकाले धम्कीलाई उनले वास्तै गरेनन् । दिलीपलाई धम्की र प्रलोभन दुवै तरिकाले चुप लगाउन क्रसर सञ्चालक लागिरहे । ‘कैयौं दिन त घरमै आएर धम्क्याउँथे,’ दिलीपका दाजु वीरेन्द्रले भने, ‘मोटरसाइकल किन्न दिने भन्दै चुप लाग्न पनि लालच दिए, तर दिलीप मानेन ।’
छठका बेला पनि दिलीप र क्रसर सञ्चालकबीच विवाद भएको थियो । उनी दुई वर्षदेखि औरही खोलाको अवैध उत्खनन रोक्न स्थानीयलाई एकजुट गर्न लागेको दिलीपका साथी कमलेश सिंहले बताए । गत वर्ष जनकपुरका पत्रकारलाई बोलाएर दिलीपले खोलामा भइरहेको अवैध उत्खननबारे जानकारी दिएपछि केही समय बालुवा, गिट्टी झिक्ने क्रम रोकिएको थियो । अहिले रातको समयमा खोलाबाट बालुवा, गिट्टी झिक्ने क्रम बढेपछि दिलीप जोखिम मोलेर त्यहाँ पुग्दा ज्यानै गुमाउनुपरेको उनले बताए । प्रदेश–२ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले क्रसर सञ्चालक र टिपर चालकलाई कारबाही हुने बताए । उनले क्रसरको वैधानिकता, मापदण्ड र अनुमति लिए/नलिएको मामिलामा पनि प्रहरीले अनुसन्धान थालेको बताए ।

 

Page 2
समाचार

विद्यावारिधि गर्न 'चाकरी'

‘गुरूले जसो भन्यो नमानेर धर पाइँदैन । कहिले यता, कहिले उता बोलाइरहन्छन्, भेटेर खुवाउँदै हैरान भइसकियो । पीएचडी चाँडै सक्ने आशा गर्दा झन् जुलुम हुने स्थिति छ ।’
- गणेश राई

(काठमाडौं) - कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा पुस दोस्रो साता एक जना उपप्राध्यापकले विद्यावारिधि (पीएचडी) उपाधिका लागि अन्तिम भाइभा दिए । त्यो क्षणको तस्बिर उनको फेसबुकको भित्तामा छ । त्यसलगत्तै तिनै उपप्राध्यापकले आफ्ना वरिष्ठ गुरुहरूलाई राखेर उत्सव मनाएको फोटोसमेत पोस्ट गरेका छन् ।
देशकै ‘वरिष्ठ’ प्राध्यापकहरूका माझ खादा ओढेर उनी हँसमुख देखिएका छन् । तस्बिरमा अस्वाभाविक दृश्य बधाई दिने प्राध्यापकहरूको अग्रभागको टेबलमा
‘ह्वीस्की’ र ‘वाइन’ का बोतल, थर्मस, पानीको बोतल र यत्रतत्र छरिएका प्लेट देखिन्थ्यो । मुनि लेखिएको थियो–
‘अ मोमेन्ट अफ सेलिब्रेसन (एक उत्सवको क्षण) ।’ त्यसमुनि ‘डाक्टर बन्नुभएकामा बधाई’ शब्द ओइरिएका छन् । ती उपप्राध्यापकले पीएचडीको उपाधि पाउन अर्को वर्षको पुस महिना कुर्नुपर्नेछ ।
कहर काटेर पीएचडी उपाधिका निम्ति भाइभा उत्तीर्ण गर्नेमध्ये यी उपप्राध्यापक एक उदाहरण मात्र हुन् । अर्कोतर्फ विद्यावारिधि शोध कार्यमा आधा दशकदेखि निरन्तर जुटिरहँदासमेत उपाधि पाउन सकेका छैनन् । स्वतन्त्र रहेर पीएचडी शोधमा जुटेकाहरूलाई झनै सकस पर्ने गरेको शोधार्थी बताउँछन् । त्रिविको हालै सम्पन्न ४५ औं दीक्षान्त समारोहमा ८५ जनाले पीएचडी उपाधि हासिल गरेका छन् ।
त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत एकजना ६ वर्षदेखि पीएचडीकै धुनमा समय बिताएका छन् । ‘अबचाहिँ भाइभामा डाक्छन् कि’ भन्ने झिनो आशामा छन् । त्यसैले नाम भनिहाल्दा अप्ठ्यारो हुने ठान्छन् । ‘तीन वर्षमा अनुसन्धान पूरा गरियो, शोधकार्यलाई र पटक–पटक सुपरभाइजरलाई जाँच्न दिइयो,’ अनुसन्धानरत एक शोधार्थीले भने, ‘विद्यावारिधि शोधकार्यमा जुटेको छैटौं वर्ष भइसक्यो । सम्बन्धित विषय विज्ञ छैनन् । जो खटाइएका छन् उनीहरू अन्तर्राष्ट्रिय सिद्धान्त, अनुसन्धानप्रति ज्ञान राख्दैनन् । अंग्रेजी बुझ्दैनन् । पीएचडी भनेको दर्शनको स्तर हो तर भिलेज प्रोफाइलजस्तै मात्र सोच्छन् । कहिले यो भएन, त्यो भएन भन्छन् । त्रिविमा सारा थेसिस लुकाएका हुन्छन् किनभने त्यसमा ज्ञान होइन सूचना मात्र हुन्छ ।’
अर्का पीएचडी शोधार्थी काठमाडौंको एक होटलमा भेटिए । छेउमै थिए, उनका शोध निर्देशक र अर्का विषयसँग सम्बन्धित प्राध्यापक । पीएचडी शोधको मेसो चलेको आधा दशक चल्दै छ । ‘शोधकार्य छँदै छ, गुरुले जसो भन्यो नमानेर धर पाइँदैन,’ उनले सुटुक्क भने, ‘कहिले यहाँ, कहिले कता आइज भन्छन् । भेटेर खुवाउँदै हैरान भइसकियो । पीएचडी चाँडै भइदिए केही मौका जुर्ला भन्ने आशाले जुलुम हुने स्थिति छ ।’
शोध निर्देशकले किन यसो गर्छन् ? ‘मेरो पाला त्यत्ति सारो त भएन । मेरो शोधको विषयवस्तुप्रति म पूर्ण ज्ञान राख्थें र शोध अनुसन्धान ज्यादै दह्रो थियो,’ त्रिविका एक पीएचडीधारी सहप्राध्यापकले भने, ‘जसले पीएचडी गर्ने हो, ऊ विषयवस्तुप्रति गहन ज्ञान नराख्दा गाइडको पेलानमा पर्न सक्छ । पीएचडीको गाइड गर्दा निर्देशकले पाउने पारिश्रमिक निकै थोरै हुन्छ । त्यसैले जसका निम्ति गाइड गरेको हो पीएचडी गरिसकेपछि पाउने सामाजिक प्रतिष्ठाको विषय भएकाले त्यसरी खुवाइपिवाइ गर्ने, गराउने, गराइमाग्ने चलन बढेको हो ।’
नेपाली समाजमा डक्टरेट अफ फिलोसफी (पीएचडी) गरेर नामको अगाडि ‘डा.’ लेख्ने लहड चलेको छ । समाजका एकखाले युवाले विद्यावारिधि हासिल गरेपछि आफ्नो नामको पछाडि ‘पीएचडी’ मात्र लेख्ने गरेका छन् । तर बहुसंख्यकले चाहिँ आफूलाई अब्बल देखाउनकै निम्ति नामको अगाडि ‘डा.’ लेख्ने गरेका छन् । चिकित्साशास्त्रमा एमबीबीएस र सोभन्दा माथि चिकित्सा डिग्री हासिल गरेकाले डाक्टर लेख्ने गर्छन् । त्रिविका एक प्राध्यापकको ठम्याइमा पीएचडी गरेपछि सहप्राध्यापक र प्राध्यापकमा बढुवा हुन सजिलो हुन्छ । अर्कोतर्फ राजनीतिज्ञ, कर्मचारीले अवसरका निम्ति ‘डा.’ लेखाउनकै निम्ति मिहिनेत नगरी पीएचडी गर्ने गरेका छन् । पीएचडीलाई सामाजिक पहिचान र अवसर हत्याउने हतियार बनाउने गरेका छन् ।
‘नेपालका ती पीएचडीधारीको अन्तर्राष्ट्रिय जर्नल कतिवटा अनुसन्धानमूलक लेख छापिएको छ भनेर खोज्ने हो शून्यप्रायः छ,’ ती प्राध्यापक भन्छन्, ‘अहिले पीएचडी गर्ने, गराउने र डाक्टर लेख्ने, लेखाउनेको ओइरो छ । कतिपयले मित्र राष्ट्रको युनिभर्सिटीबाट पीएचडी उपाधि धारण गरेको पाइएको छ ।’ ती प्राध्यापक सम्बन्धित विश्वविद्यालयले पीएचडीमा रहेका कमजोरीप्रति गम्भीर भएर सच्याउनुपर्ने बताउँछन् ।
विश्वविद्यालयले संकायगत रूपमा विद्यावारिधि गर्न चाहनेका निम्ति दुईखाले प्रावधान तोकेको छ । विद्यार्थीले इच्छाएको विषयमा स्नातकोत्तर र एमफिल गरेको हुनुपर्छ । विद्यावारिधिका निम्ति उक्त विषयमा अन्तर्राष्ट्रिय जर्नलमा सैद्धान्तिक प्रक्रियाअनुसार गरिएको अनुसन्धानात्मक तीनवटा आलेख प्रकाशित भइसकेको हुनुपर्छ । इच्छाएको विषयमा विद्यावारिधि शोधका निम्ति प्रस्ताव निर्माण गरी सम्बन्धित डिन कार्यालयमा म्यादभित्र बुझाइसक्नुपर्छ । डिन कार्यालयले तीनजना विज्ञलाई उक्त शोध प्रस्ताव अध्ययन गराउँछ । विज्ञले योग्य ठाने बढीमा ६ वर्षभित्र शोध अनुसन्धान पूरा गर्न अनुमति दिइन्छ ।
त्रिविले पछिल्लो दशकमा स्नातकोत्तर तह, एमफिल र पीएचडी उपाधिका निम्ति सेमेस्टर प्रणाली लागू गरेको छ । विश्व बैंकको सहयोगमा जारी उच्च शिक्षा परियोजनाअन्तर्गत सेमेस्टर प्रणाली पुनःस्थापित गरिएको हो । जसअनुसार ‘कक्षामा आधारित विद्यावारिधि’ (क्लास बेस्ड पीएचडी) सञ्चालनमा छ । पीएचडीका निम्ति प्रारम्भिक छनोटमा परेकाले नियमित कक्षामा अध्ययन गर्छन् । सेमेस्टर प्रणालीमा गरिने नियमित मूल्यांकन र परीक्षाका आधारमा शोधार्थी अघि बढ्न सक्छन् ।
पत्रकारिता विषयका पीएचडी शोधार्थी तथा पत्रकार भुवन केसी भन्छन्, ‘शुल्क महँगो छ । विद्यार्थी थोरै हुन्छन् । सम्बन्धित विषयको विभागले भर्ना लिन्छन् । तर विद्यार्थीबाट लिइएको अधिकांश शुल्क डिन कार्यालयलाई बुझाउनुपर्छ ।’ विभागले प्रतिस्पर्धी शिक्षक, सुपरभाइजर, कक्षाकोठा व्यवस्थापन, विषयगत सन्दर्भ सामग्री जुटाउनुपर्छ । त्रिवि आमसञ्चार तथा पत्रकारिता विभागले विषयविज्ञको अभावमा दोस्रो वर्षबाट विद्यावारिधि कक्षा बन्द गरी एमफिल मात्र जारी राखेको छ ।
त्रिवि शिक्षाशास्त्र संकाय डिन कृष्णप्रसाद गौतम नेपाली विषयबाहेक सबै अंग्रेजीमा शोधकार्य गर्नुपर्ने प्रावधान रहेको बताए । ‘शिक्षाशास्त्रमा १८ महिने एमफिलमा बी प्लस ल्याएकाले पीएचडी गर्न पाउँछन्,’ प्राध्यापक गौतमले भने, ‘अंग्रेजीमा कमजोर भएकाले शिक्षाशास्त्रभन्दा मानविकी संकाय रोज्ने गरेका छन् ।’ त्रिविमा गत वर्ष मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत राजनीतिशास्त्र विषयमा पीएचडी गर्न चाहनेको सबभन्दा धेरै ओइरो लागेको थियो । यो वर्ष प्रारम्भिक चरणको छनोट भएको र अन्तर्वार्ता बाँकी छ ।
त्रिविले प्रदान गरेको विद्यावारिधि उपाधि अब खोसिन सक्ने कानुनी व्यवस्था गर्ने भएको छ । विकृति रोक्नका निम्ति त्रिविले नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीको संयोजकत्वमा कमिटी गठन गरेको छ । कमिटीले पीएचडीमा स्रोत नखुलाई अर्काको नक्कल गरेको प्रमाणित भए त्रिविले दिएको विद्यावारिधि उपाधि खोस्ने सक्ने प्रतिवेदनमा सुझाएको छ । ‘नेपालबाट पीएचडी गर्ने र गराउनेले प्राज्ञिक, सैद्धान्तिक, स्थलगत अध्ययनलगायत जुन किसिमको मिहिनेत गर्नुपर्ने हो, त्यो भइरहेको छैन,’ संयोजक कार्की भन्छन्, ‘त्यसैले अबदेखि नेपालका जुनसुकै विश्वविद्यालयबाट पीएचडी गर्छन्, त्यो शोधग्रन्थमा ‘प्लेजरिजम’ (चोरी, नक्कल) भएको प्रमाणित भए १० वर्षपछि पनि सम्बन्धित विश्वविद्यालयले विद्यावारिधि फिर्ता लिन सक्ने सुझाव दिएका छौं ।’
त्रिविले स्नातकोत्तर तह, एमफिल, विद्यावारिधिको शोधग्रन्थ थेसिसको हार्डकपी (पुस्तकाकार) र सफ्टकपी (इलेक्ट्रोनिक भर्सन) अनिवार्य बुझाउनुपर्ने प्रावधान
राखेको छ । त्यसैअनुसार त्रिवि केन्द्रीय पुस्तकालयले ‘प्लेजरिजम चेकिङ सफ्टवेयर’ राख्ने प्रक्रिया अघि
बढाएको छ । ‘एन्टी प्लेजरिजम सफ्टवेयर राख्नका निम्ति त्रिवि र विश्वविद्यालय अनुदान आयोगबीच सम्झौता भइसकेको छ,’ पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले भने, ‘बजेट आएलगत्तै सफ्टवेयर खरिद प्रक्रिया
अघि बढाउनेछौं ।’ यो सफ्टवेयर व्यवस्था
भएपछि अरू मुलुकबाट विद्यावारिधि गरेकाहरूको थेसिसको समेत प्लेजरिजम सफ्टवेयरबाट जाँच
गर्न सकिनेछ ।

समाचार

ट्युसनको तनाव

- कान्तिपुर संवाददाता
जुम्ला सदरमुकाम खलंगाको एक ट्युसन सेन्टरमा अध्ययनरत विद्यार्थी । तस्बिर ः एलपी/कान्तिपुर

(जुम्ला) - खलंगाको माइनस ८ डिग्रीको चिसो । बिहान ५ नबज्दै कालेखोलीमा विद्यार्थीको चहलपहल सुरु भइसक्छ । एसईईमा सहभागी हुने विद्यार्थी यतिबेला चिसोको फिक्री नगरी ट्युसन पढ्न धाइरहेका छन् ।
जिल्लाका अधिकांश विद्यालयमा वार्षिक औसत सय दिनभन्दा बढी पढाइ हुँदैन । नियमित पढाइ नहुँदा कोर्स अपुरै हुन्छ । त्यसैले विद्यार्थी ट्युसनको भर पर्ने गरेका हुन् । ट्युसन पढ्नेको भीडका कारण सदरमुकाम खलंगामा दुई महिना निकै चहलपहल हुने गरेको छ । अहिले खलंगा बजार विद्यार्थीले भरिभराउ छ । जिल्लाका सबै स्थानीय तहका विद्यार्थी सदरमुकाम आसपासका क्षेत्रमा ट्युसन पढ्न आएका छन् ।
यहाँका अधिकांश निजी र विद्यालयका शिक्षकले सदरमुकाममा ट्युसन सेन्टर सञ्चालन गरेका छन् । ‘स्कुलमा राम्ररी पढाउँदैनन्, कोर्स पनि कहिल्यै पूरा हुँदैन,’ भण्डारीबाडाकी एक छात्राले भनिन्, ‘राम्रो ग्रेड ल्याउन हामीले ट्युसन पढ्नैपर्ने बाध्यता छ ।’ उनका अनुसार सामुदायिक विद्यालयमा आठ महिनामा नसकिने कोर्स ट्युसन सेन्टरमा दुई महिनामै सकिन्छ ।
पढ्न आउनेको चापका कारण यहाँका ट्युसन सेन्टरमा एउटै कक्षामा सय जनाभन्दा बढी विद्यार्थी कोचाकोच गरेर पढ्छन् । जनज्योति माध्यमिक विद्यालयका विद्यार्थी नेत्रविक्रम शाहीले आधा घण्टा हिँडेर बिहानै ट्युसन पढ्न आउने गरेको बताए । ठन्डीमा बिहानै पढ्न आउँदा बिरामी पर्नेहरू पनि छन् । ‘स्कुलमा पूरा पढाइ हुने भए कसले पढ्थ्यो ट्युसन,’ उनले भने, ‘बाउआमालाई ऋण लिन लगाएर पनि ट्युसन नपढी भएको छैन ।’
पुसको अन्तिम साता रत्नचुडेश्वर माविका शिक्षकले विद्यार्थीलाई आफ्नो ट्युसन सेन्टरमा पढ्न नआए एसईई परीक्षामा समस्या हुने चेतावनी दिएका थिए । एसईई परीक्षामा सहभागी हुने विद्यार्थीका भरले उनले अहिले खलंगामा अंग्रेजी, गणित र विज्ञान विषयको ट्युसन कक्षा लिइरहेका छन् । शाहीका अनुसार विद्यालयमै पढाउने शिक्षकले खलंगाका ट्युसन सेन्टरमा कक्षा लिइरहेका हुन् । उनले एउटा विषयको मासिक दुई हजार रुपैयाँ शुल्क तिरिरहेको बताए ।
एसईईका विद्यार्थी मात्र होइन, जिल्लामा कक्षा ६ देखि नै ट्युसन पढ्ने ‘फेसन’ छ । विद्यालयमा प्रथम हुने विद्यार्थीसमेत ट्युसन कक्षामा सहभागी हुने गरेको स्थानीय निमप्रसाद देवकोटाले बताए । ‘साना कक्षाका विद्यार्थीलाई समेत ट्युसनको भर लाग्न थालेको छ,’ उनले भने, ‘झट्ट निकाल्न नसक्नेले पनि ऋण लिएर छोराछोरीलाई ट्युसन पढाउन बाध्य छन् ।’ विद्यालयमा नियमित पठनपाठन भए ट्युसन संस्कृति निरुत्साहित हुने उनको भनाइ छ ।
कक्षा ६ देखि नै ट्युसन पढाउँदा विद्यार्थीमा विकृति बढेको तातोपानीका अभिभावक जय शाहीले बताए । ‘जेठो छोरालाई एसईईको तयारीका लागि खलंगामा ट्युसन पढ्न पठाएँ, कक्षा ६ मा पढ्ने छोरीले म पनि पढ्छु भनेर दैनिक जिद्दी गर्न थालेपछि नपठाई सुखै पाइएन,’ उनले भने, ‘अहिले छोरीलाई पनि खलंगामा ट्युसन पढाउन पठाएको छु ।’
जुम्लामा बिहान ५ देखि राति ९ बजेसम्म ट्युसन कक्षा सञ्चालन हुन्छन् । विद्यालयमा मुस्किलले ५ घण्टी पढाउने शिक्षकले ट्युसनमा १२ घण्टासम्म समय दिने गरेका छन् । रिनीको सरस्वती माविका शिक्षक राजेन्द्र खत्रीले ब्राइट फ्युचर ट्युसन सेन्टर खोलेका छन् । जाडीभीड स्कुलका प्रधानाध्यापक भीम थापाले डाइनामिक ट्युसन सेन्टर सञ्चालन गरिरहेका छन् । उनी ट्युसन सेन्टर सञ्चालन गरेयता बर्सेनि
एसईई परीक्षामा महतगाउँस्थित जनता माविको सहायक केन्द्राध्यक्ष हुन्छन् ।
जनता मावि महतगाउँका विज्ञान शिक्षक विजय पालको पनि ट्युसन सेन्टर छ । आफ्नो सेन्टरमा पढ्न नआए प्रयोगात्मक नम्बर कम दिन्छु भन्दै उनले विद्यार्थीलाई धम्क्याउने गरेको गुनासो बढिरहेको छ । उनीहरू मात्र होइन, खलंगा र आसपासका क्षेत्रमा सञ्चालन भएका ट्युसन सेन्टरका अधिकांश सञ्चालक माविका शिक्षक नै छन् ।
केहीले कोठाभाडा लिएर पढाइरहेका छन् भने अधिकांश ट्युसन सामुदायिक विद्यालयका भवनमा हुन्छ । सरस्वती मावि रिनीका अर्का शिक्षक जयशंकर धितालले न्यु भिजन ट्युसन सेन्टर सञ्चालन गरी आफ्नैमा पढ्न आउन दबाब दिने गरेको विद्यार्थीको गुनासो छ ।
पुस र माघ महिनामा खलंगामा विद्यार्थीको चाप धेरै हुने गरेको छ । चापसँगै विकृति पनि बढेको सरोकारवाला बताउँछन् । मेरिस्टोप सेन्टर जुम्लाको तथ्यांकअनुसार अन्य समयभन्दा दुई महिनामा गर्भपतन गराउनेको संख्या पनि धेरै छ । गर्भपतन गराउनेमा धेरैजसो एसईई दिने किशोरी हुने गरेको सेन्टरले जनाएको छ ।
ट्युसन सेन्टरको नियमनका लागि शिक्षा विकास तथा समन्वय इकाईले समेत बेवास्ता गरिरहेको अभिभावकको गुनासो छ । खलंगामा ट्युसन सिजनमा विद्यार्थी असुरक्षित हुने गरेको गुनासो पटकपटक स्थानीय प्रशासनमा पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । उनका अनुसार यो समयमा छात्रा बढी असुरक्षित हुने गरेका छन् । उनले ट्युसन सेन्टरको अनुगमन गर्न र व्यवस्थित गर्न इकाईलाई निर्देशन दिइएको जानकारी दिइन् । ‘सर्वपक्षीय बैठक बसेर ट्युसन सञ्चालकलाई परीक्षामा निरीक्षक नराख्नेलगायत विषयहरूमा छलफल गर्ने तयारी भइरहेको छ,’ उनले भनिन्, ‘विद्यालयमा नपढाउने शिक्षकलाई पनि कारबाहीको दायरामा ल्याउन आवश्यक प्रक्रिया थालिने छ ।’ परीक्षामा कडाइका साथै विद्यालयको पठनपाठनबारे नियमित अनुगमन गर्न जरुरी रहेको उनले बताइन् । सामुदायिक विद्यालय स्थानीय सरकार मातहत रहेकाले जनप्रतिनिधिको ध्यान त्यसतर्फ जानुपर्ने उनको भनाइ छ ।

समाचार

जो कलिलैमा देवतालाई चढाइए

‘यौवन छोप्न सकिएन, भन्सारका जागिरे दार्चुलाका एक जनासँग विवाह भयो तर देवकन्यासँग बिहे गरेका कारण जागिर गएको भन्दै उनले छाडे । त्यसयता मन्दिरमै बसिरहेकी छु ।’

(बैतडी) - विष्णादेवी धामीलाई आफ्नो उमेर थाहा छैन । हेर्दा सात दशक काटेकी जस्ती देखिन्छन् । बैतडीको प्रख्यात त्रिपुरासुन्दरी मन्दिरछेउको घरमा एक्लै बस्छिन् । मन्दिरमा हुने पूजाआजा र उत्सवका समय पाइने धेरथोर रकमबाट गुजारा गर्छिन् । बिहान उज्यालो नहुँदै उठ्नु, मन्दिरको सरसफाइ र लिपपोत गर्नु उनको नित्यकर्म हो ।
उनी आठ वर्षको उमेरदेखि यही मन्दिरमा छिन् । ‘युवावस्थाका केही वर्षबाहेक बाल्यकालदेखि निरन्तर मन्दिरको सेवकका रूपमा बस्दै आएकी छु ।’ उनका आमाबुबा सानै छँदा बितेका हुन् । ‘दुई बहिनी र एक भाइ हौं,’ उनले भनिन्, ‘अहिले घरबार, आफन्त जे भने पनि यही मन्दिर हो ।’
विष्णाजस्तै निधारभरि अबिर, त्यसमाथि सेतो चन्दन र चामलको सेतो टीका लगाएका केही वृद्धा अहिले पनि बैतडी र डडेलधुराका भगवती मन्दिरमा लिपपोत वा अन्य काम गरिरहेका हुन्छन् । कुनै समय देउकीका रूपमा चढाइएका उनीहरूमध्ये अधिकांशको जीवन कठिन छ । ०४२ सालअघिसम्म रजस्वला नहुँदै विभिन्न भाकल गरेर बालिकालाई मन्दिरमा चढाउने कुप्रथा थियो ।
‘मन्दिरमा चढाइँदा मलाई केही थाहा थिएन,’ विष्णाले भनिन्, ‘केही वर्ष काकासँगै बम्बई बसें, घर फर्किएपछि मात्र थाहा पाएँ म देवकन्या भइसकेकी रहेछु ।’ आफन्तहरू टाढिन थाले । देउकीका रूपमा समाजले नराम्रो दृष्टिकोणले हेर्न थाल्यो । देउकीले विवाह गर्न नपाउने भए पनि उनले यौवन छोप्न सकिनन् । ‘भन्सारमा जागिरे दार्चुलाका एक जना चन्दले विवाह गरेर लगे,’ विष्णाले विगत सम्झिइन्, ‘श्रीमान्को जागिर गयो, देवकन्या बिहे गरेका कारण जागिर गएको भन्दै उनले पनि छाडे । त्यसयता मन्दिरमै गुजारा गरेर बसिरहेकी छु ।’
शारदा चन्दको पीडा विष्णाको भन्दा पीडादायी छ । उनी १४ वर्षको उमेरमा मन्दिरमा चढाइएकी । मन्दिरको कामसँगै उनी यौनहिंसाको सिकार बन्नुपर्‍यो । ‘मन्दिर आसपासका पुरुष मन लागेका बेला आउँथे, आफ्नो भाग्य सम्झिएर उनीहरूका सामु तयार हुनुपर्थ्यो,’ उनले भनिन् । देउकीको उमेर छउन्जेल मन्दिरमा पुरुषहरू बाक्लै आउजाउ गरिरहन्थे । ‘मन्दिरमा चढाइएका हौ भन्थे, नाइँ भन्न सक्ने अवस्था थिएन,’ उनले थपिन्, ‘ती दिन सम्झँदा मन दुख्छ ।’
दशरथचन्द नगरपालिकाकी भावना थापालाई ६ वर्षकै उमेरमा देवकन्याका रूपमा मन्दिरमा चढाइएको हो । युवावस्थामा उनले पनि अस्थायी विवाह गरिन् । ‘अस्थायी विवाह नै हो, समाजले मान्यता दिँदैनथ्यो, लुकिछिपी विवाह भएको हो,’ उनले भनिन्, ‘मन्दिरमा चढाउँदा भगवान्सँग बिहे गरेर सिन्दुर हालिदिने भएकाले देवकन्याले विवाह गर्न पाउँदैनन् । आफन्तबाट टाढा भए पनि तीन सन्तान हुर्काएर जीवनका ५० वर्ष कसरी काटें आफैं अचम्ममा पर्छु ।’
वृद्धभत्ता पाउने उमेरमा औषधिका लागि भिख माग्नुपरेको विष्णा बताउँछिन् । ‘दुई छाक खान मुस्किल छ, औषधि कहाँबाट ल्याउनु ?’ उनले भनिन्, ‘औषधिका लागि मात्रै दिनको ५० रुपैयाँभन्दा बढी जुटाउनुपर्छ ।’ उनका अनुसार मन्दिरमा पूजाआजा गर्न आउनेले दया गरेर दिए भने गुजारा हुन्छ, नत्र भोकै बस्नुपर्छ । ‘मन्दिरनजिकै स्थानीयको खाली रहेको घरमा बस्दै आएकी छु, आफ्नो भन्नु केही छैन । देवकन्याका रूपमा मन्दिरमा चढाइएका प्रायः सबैको अवस्था उस्तै हो,’ उनले पीडा पोखिन्, ‘अरूका लागि सरकार भयो, हाम्रा लागि कोही भएन ।’
यो कुप्रथाको सिकार भएका कति महिला जीवित छन् ? देवकन्याबाट जन्मिएका सन्तान कति छन् ? यिनको अवस्था के छ ? यस विषयमा यकिन तथ्यांक छैन । ‘हलिया, कमैया, दास, राउटे सबैलाई राज्यले पुनःस्थापना गर्‍यो तर देउकीजस्तो जघन्य प्रथाको सिकार भएकाका लागि भने राज्यले प्रयाससम्म गरेन,’ देउकी प्रथाका विषयमा अध्ययन गरिरहेका राजेन्द्रप्रसाद पन्तले भने, ‘यो प्रथालाई लिएर धेरैले अनुसन्धान गरे, चर्चा कमाए, यो कुप्रथाका कारण पूरै क्षेत्र लज्जित बन्यो तर यसबाट प्रभावितको पुनःस्थापनाका लागि केही पनि हुन सकेन ।’
उनका अनुसार देउकीहरूको संख्या दर्जन हाराहारी छ तर उनीहरूबाट जन्मेका सन्तान धेरै छन् । उनीहरू अहिले पनि समाजमा अपहेलित र आर्थिक रूपमा दयनीय जीवन बिताउन बाध्य छन्,’ पन्तले भने, ‘यस विषयमा राज्य गम्भीर हुन आवश्यक छ ।’ बैतडीमा मात्रै करिब एक हजार देवकन्या भएको अनुमान छ । विभिन्न थर लेखेर सामाजिक रूपमा अपहेलित हुनबाट जोगिएर बसेका देउकीका सन्तानमध्ये अधिकांश थातथलोबाट विस्थापित भइसकेका छन् । देउकीबाट जन्मिएका नरबहादुर सिंहले भने, ‘आफू कसको छोरा हुँ भन्ने जानकारी हुँदाहुँदै पनि बुबा चिन्न सकिएन । त्यो समाजमा बस्न कति पीडा हुन्छ, तपाईं कल्पना गर्न सक्नुहुन्न । यो भोग्नेले मात्र अनुभूति गर्न सक्छ । बुझ्ने भएपछि आफूले गाउँ छोडेको र अहिलेसम्म नफर्केको उनले बताए ।
०४२ सालमा देउकी राख्न नपाउने कानुन बनेपछि यो प्रथा हटेको हो । पूर्वसांसद पुरन दयालले कानुन बनेपछि कन्यालाई मन्दिरमा चढाउन बन्देज लागेको बताए । ‘देवकन्या बनाउने केही व्यक्ति त्यसबेला जेल परेका थिए,’ उनले भने । त्यसबेला बैतडीमा मात्रै हजार जनाभन्दा बढी देउकी रहेको उनले बताए । ०४८ सालमा बालबालिकासम्बन्धी ऐन बनेपछि देवीदेवताका नाममा बालबालिकालाई मन्दिरमा चढाउन नहुने तोकेरै उल्लेख छ । कुनै समय त्रिपुरासुन्दरी, मेलौली, निङलासैनी, डागेश्वरीलगायत प्रख्यात भगवतीका मन्दिरमा देवकन्या चढाउने परम्परा थियो । अझै समाजमा देउकी र तिनका सन्तानलाई तिस्कार गर्ने संस्कार रहेको नागरिक समाज बैतडीका जिल्ला सचिव करन दयालले बताए । ‘धार्मिक परम्पराका रूपमा यो कुप्रथा विकसित भएकाले पीडित पनि समस्या सहेरै बसेका छन्,’ उनले भने ।
पछिल्लो समय पनि देउकीबाट जन्मिएका सन्तानले जन्मदर्ता, नागरिकता नभएको, जग्गाको अभावजस्ता थुप्रै समस्या भोग्दै आएका छन् । ‘देउकी चढाउने स्वरूप परिवर्तन भएको छ, अझै केहीले सुन, चाँदीको महिलाको मूर्ति बनाएर मन्दिरमा चढाउने गरेका छन्,’ उनले भने ।

Page 3
समाचार

अतिसंवेदनशील बैठकमा अनधिकृत

सुरक्षा नीति र सैन्य नियन्त्रण तथा परिचालनसम्बन्धी छलफलमा प्रधानमन्त्रीका सल्लाहकारदेखि पार्टी अध्यक्ष र महासचिवको उपस्थिति हुँदै आएको छ
- मातृका दाहाल
नेपाली सेनाले सैनिक गतिविधिबारे ब्रिफिङ गर्न गत वर्ष बोलाएको बैठकपछि जंगीअड्डामा तस्बिर खिचाइँदै । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र राजन भट्टराईसमेत सहभागी थिए । तस्बिर ः नेपाली सेना

(काठमाडौं) -  राष्ट्रिय सूचना आयोगले २०७६ पुस ६ गते वार्षिक प्रतिवेदन बुझाएको कार्यक्रममा सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेल उपस्थित थिए । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा पनि देखिए । प्रतिवेदन बुझाउने क्रममा भएका छलफलमा पौडेल सहभागी बने ।
 काठमाडौं–तराई द्रुतमार्ग र सैनिक गतिविधिबारे ब्रिफिङ गर्न सेनाले २०७५ मंसिर २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई जंगी अड्डामा निम्त्यायो । ओलीले रक्षामन्त्री ईश्वर पोखरेल, तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री युवराज खतिवडासँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा सल्लाहकारद्वय रिमाल र भट्टराईलाई पनि साथमै लगे । बैठकमा प्रधानमन्त्रीले नै नेकपा अध्यक्ष दाहाललाई ब्रिफिङमा सहभागी गराएको दाबी स्रोतले गरेको छ ।
 २०७५ असोज १ गते राष्ट्रिय सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमाल सहभागी थिए । नेत्रविक्रम चन्द समूहको हिंसात्मक गतिविधि र विखण्डनको एजेन्डा बोकेका सीके राउतबारे रणनीति तय र वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल गर्न बैठक बसेको थियो । संविधानअनुसार रिमालको उपस्थिति अनधिकृत पनि हो ।

राज्यको गोपनीयतासँग जोडिएका आन्तरिक बैठक तथा छलफलमा अनधिकृत व्यक्तिको प्रवेश भएका यी केही दृष्टान्त मात्र हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अन्य गोप्य र अतिसंवेदनशील छलफलमा यसैगरी असम्बन्धित व्यक्तिहरूको प्रवेश हुँदै आएको छ । सुरक्षा विज्ञहरूले सुरक्षा नीति र सैन्य नियन्त्रण तथा परिचालन र आयोगका प्रतिवेदन बुझाउने क्रममा प्रधानमन्त्रीका सल्लाहकारदेखि पार्टी अध्यक्ष र महासचिवको उपस्थितिलाई अनुचित भनेका छन् । उनीहरूले यसलाई राज्यका अंगहरूमा बढ्दै गएको दलीय प्रभावको रूपमा अर्थ्याएका छन् ।
संविधानको धारा २६६ मा सुरक्षा परिषद्सम्बन्धी व्यवस्था छ । उक्त व्यवस्थाअनुसार नेपालको समग्र हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष तथा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहेको ७ सदस्यीय परिषद् रहने व्यवस्था छ । परिषद्को सदस्य सचिव रक्षा सचिव हुन्छन् । संविधानले सल्लाहकार वा पार्टीको सचिवालयका कुनै पनि सदस्यलाई चिन्दैन । आवश्यकताअनुसार अन्य सुरक्षा निकायका प्रमुखलाई बैठकमा आमन्त्रण गर्न सकिने भए पनि प्रधानमन्त्रीले नेकपाका अध्यक्ष दाहाल, महासचिव पौडेल र सल्लाहकारलाई समेत सहभागी गराएका थिए । त्यस्तै सेनाको आन्तरिक ब्रिफिङ र आयोग तथा जाँचबुझ प्रतिवेदन पेस गर्दा अनधिकृत व्यक्तिको उपस्थिति अस्वाभाविक भएको सुरक्षा विज्ञहरू बताउँछन् । सैनिक ऐन, २०६३ अनुसार पनि असम्बन्धित व्यक्तिलाई सैन्य कामकारबाही र छलफलमा सहभागी गराउन पाइँदैन ।
वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले मुलुकको गोपनीयता र रणनीति तय गर्ने छलफलमा संविधान र कानुनले नचिनेका मानिसलाई गराइएको प्रवेशले प्रधानमन्त्रीमाथि नैतिक प्रश्न तेर्सिएको बताए । राज्यका हरेक अंगमा दलीय प्रभाव कस्तो छ भन्ने कुरा यसबाट पनि पुष्टि भएको उनको भनाइ छ । पूर्वगृहसचिव गोविन्द कुसुम सुरक्षा वा राज्य सञ्चालनका गम्भीर र संवेदनशील विषयमा सरकारी ओहदामा नरहेका, शपथ नखाएका वा असम्बन्धित व्यक्तिको प्रवेश रोक्नुपर्ने बताउँछन् । जंगीअड्डा, सुरक्षा परिषद् र सूचना आयोगका बैठकमा दलका नेताहरूको प्रवेश पनि अनधिकृत भएको उनको भनाइ छ । ‘राज्य सञ्चालनसम्बन्धी छलफल र आन्तरिक कामकारबाहीमा अमूक नेता वा असम्बन्धित व्यक्तिको प्रवेश अनधिकृत हो, यसले राष्ट्रिय गोपनीयता भंग हुन सक्छ,’ उनले कान्तिपुरसँग भने, ‘त्यस्ता बैठकमा सहभागी असम्बन्धित व्यक्तिले कथम्कदाचित दलीय वा व्यक्तिगत फाइदाका लागि राष्ट्रलाई हानि पुग्ने गरी सूचना चुहाए को जिम्मेवार हुन्छ भन्ने कुरा प्रधानमन्त्रीले हेक्का राख्नुपर्छ ।’ सेना र सुरक्षा परिषद्जस्ता अतिसंवेदनशील निकायमा असम्बन्धित र राज्य सञ्चालनका क्रममा कानुनले नचिनेका व्यक्तिको प्रवेश हुनु गम्भीर चिन्ताको विषय रहेको उनले बताए । ‘राज्य सञ्चालनका क्रममा नियुक्त सल्लाहकार वा स्वकीय सचिवहरूलाई शपथ खुवाउने व्यवस्था गर्न जरुरी छ,’ उनले भने ।
पूर्वउपरथी विनोज बस्न्यातले शपथ नखाएका व्यक्तिलाई प्रधानमन्त्री उपस्थित अतिसंवेदनशील विषयको छलफलमा सहभागी गराइनु राष्ट्र हितविपरीत हुने बताए । ‘शपथ नखाएका व्यक्तिहरू जिम्मेवार नबन्न सक्छन्, त्यसैले संवेदनशील तथा अतिसंवेदनशील विषयमा उनीहरूलाई संलग्न गराइँदा देशको गोपनीयता भंग हुन सक्ने खतरा रहन्छ,’ उनले भने, ‘राजतन्त्रकालमा समेत ‘राजा’ ले समसामयिक घटना, सुरक्षा, परराष्ट्र मामिलालगायत विषयमा छलफल र परामर्श लिँदा सम्बन्धित विभागका अधिकारी र प्रमुख सचिवबाहेक राजपरिवारकै अन्य सदस्यको उपस्थिति हुँदैनथ्यो ।’ बस्न्यातले तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्रका एडीसीको भूमिकामा समेत काम गरेका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वपदाधिकारीबाट गोपनीयता भंग हुन्छ भन्ने आफूलाई नलागेको बताए । ‘यस विषयमा प्रचलित अभ्यास के रहेछ, बुझेर प्रतिक्रिया दिउँला,’ उनले भने ।

समाचार

'निहुँ खोज्न थाले छाड्दिनँ'

पौडेल पक्षलाई देउवाको चेतावनी
- कुलचन्द्र न्यौपाने

(काठमाडौं) - कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई एक बनाउन तयार रहेको तर अरूले निहुँ खोज्न थाले ‘नछाड्ने’ बताएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल
पक्षधरलाई लक्षित गर्दै निहुँ खोज्दै गए महाधिवेशनसमेत तोकिएको समयमा नगर्ने चेतावनी दिएका छन् ।
पार्टीमा चर्केको विवाद निरूपणका लागि आग्रह गर्न प्रजातान्त्रिक विचार समाजका पदाधिकारी शुक्रबार देउवाकहाँ पुगेका थिए । त्यस क्रममा पौडेलले विधानविपरीत जिल्ला सभापतिहरूको भेला बोलाएको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए । ‘हारेको सभापति (पौडेल) ले बोलाएको भेला वैध छ ?’ उनले भने, ‘म एकोहोरो खालको मान्छे हो । यो नेचर कसैले भनेर परिवर्तन हुन्छ र ?’
सभापति देउवाले सबैलाई समेटेर लैजान खोज्दाखोज्दै काम गर्न नदिइएको गुनासोसमेत गरेका छन् । पुस ११ को केन्द्रीय कार्यसमिति बैठकले पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारका बीच महाधिवेशनको कार्यतालिका, कार्यविधि, केन्द्रीय कार्यसमिति र तरुण दलको म्याद थप, विभागको संख्या थप र विधानका केही दफा निलम्बन गर्ने निर्णय गरेपछि आन्तरिक तिक्तता चुलिएको छ । कांग्रेसको महाधिवेशन ०७७ फागुन ७–१० गते हुने गरी तालिका ल्याइएको छ । देउवाले समाजसँग विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक पार्टीसँगको एकीकरणका कारण कार्यकाल अझै लम्ब्याउन सकिने स्थिति रहेको पनि बताए । ‘तर, म त्यसो गर्दिनँ,’ उनले भने ।
देउवाले पुस ११ गते सहमतिकै आधारमा निर्णय भएको दाबी गरे । ‘धेरै विषयमा सहमति भएको थियो । बैठकमा आएर सहमति नभएका विषयमा परक मत लेखेको भए हुन्थ्यो तर बैठकमा नआएपछि मलाई दुःख लागेको छ,’ उनले समाजको टोलीसँग दुःखेसो पोखेका थिए । समाजका अध्यक्ष केदारनरसिंह केसीको नेतृत्वमा गएको टोलीले सरकारका निरंकुश कदमविरुद्ध सडक संघर्ष गर्न सुझाउँदा देउवाले ‘सडकमा गए पनि साथीहरूले विरोध गर्छन्, तपाईंहरूले पनि साथ दिने होइन, मेरो विरोध गर्ने त हो’ भन्ने जवाफ दिएका थिए ।
लोकतान्त्रिक संस्था र उपलब्धिलाई कमजोर बनाउने काम भइरहेको भन्दै समाजले कांग्रेसभित्रको झगडाबाट सरकारलाई थप बल पुग्ने हुनाले पार्टीको बृहत् एकताका लागि तत्काल पहल गर्न देउवालाई आग्रह गरेको थियो । ‘निर्वाचन परिणामले प्राविधिक रूपमा प्रतिपक्षमा रहे पनि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र संविधान कार्यान्वयन गर्ने राजनीतिक रूपमा कांग्रेसकै मूल जिम्मेवारी हो,’ देउवालाई सम्बोधन गर्दै दिइएको पत्रमा समाजले भनेको छ, ‘विडम्बना कांग्रेस आफैंभित्र अलमलिएको छ । लोकतन्त्रको रक्षाकबच भएर उभिनुपर्ने बेला कांग्रेस घरभित्रकै खिचातानीमा अल्झिएको छ ।’
समाजका अध्यक्ष केसीले प्रजातान्त्रिक संघसंस्थाका पूर्वअध्यक्षहरूको छलफलबाट प्राप्त सुझावलाई समेटेर सभापति देउवाको ध्यानाकर्षण गराइएको बताए । ‘कांग्रेस माया गर्ने आम पंक्तिमा छाएको निराशा बदल्न पार्टी नेतृत्वले अविलम्ब अग्रसरता लिन सकोस् भनेर हामीले सभापतिलाई भेटेका हौं,’ उनले भने, ‘उहाँसँग हाम्रो ठाडठाडै कुराकानी भयो ।’
समाजका पदाधिकारीहरूले सरकारले संघीयता र संविधानको मर्मविपरीत ल्याएका विधेयकहरूको विरुद्धमा सडक र सदनमा प्रभावकारी भूमिका खेल्नुपर्ने बेला कांग्रेसभित्रको झगडाले विषयान्तर गर्न खोजेको भन्दै देउवाको ध्यानाकर्षण गराएका थिए । ‘कांग्रेसले सशक्त प्रतिवाद गर्नुपर्थ्यो तर सकिरहेको छैन । यसतर्फ पार्टीले गम्भीर रूपमा सोच्नु आवश्यक छ,’ केसीले भने ।

समाचार

‘नागरिक अधिकार खोस्ने प्रयत्न’

विधेयक जस्ताको तस्तै पारित हुन नदिन बार एसोसिएसन, पत्रकार महासंघ र गैसस महासंघले सामूहिक प्रयत्न गर्ने
- कान्तिपुर संवाददाता

(काठमाडौं) - नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी ल्याइएको सूचना प्रविधि विधेयकको विरोधमा नागरिक तथा पेसागत संघसंस्था एकताबद्ध भएका छन् । नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघले विधेयकलाई यही हालतमा
संसद्बाट पारित हुन नदिन सामूहिक प्रयत्न गर्ने जनाएका छन् । विधेयक जस्ताको तस्तै पारित भए संविधानले दिएको नागरिकको लेख्न र बोल्न पाउने अधिकार कुण्ठित हुने उनीहरूको ठम्याइ छ ।
पत्रकार महासंघले शुक्रबार आयोजना गरेको अन्तर्क्रियामा गैरसरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले सरकारले विभिन्न कानुनमार्फत नागरिकको अधिकार आफ्नो हातमा लिने प्रयत्न गरिरहेको आरोप लगाए । ‘सरकार लोकतन्त्रबाट विमुख हुँदै छ कि भन्ने लाग्न थालेको छ । अब फेरि सामूहिक रूपमा नागरिक अधिकार रक्षाका लागि लड्नुपर्ने अवस्था आएको छ,’ उनले भने । उनले समग्र नागरिक र लोकतन्त्रमाथि खतराका रूपमा ल्याइएको विधेयकविरुद्ध संयुक्त रूपमा खबरदारी गर्न आवश्यक रहेको बताए । उनले गुम्न लागेको अधिकार रक्षाका लागि नागरिक चुप लागेर बस्न नसक्ने उनको भनाइ थियो । ‘पञ्चायतमा राजाले पनि परिकल्पना नगरेको नागरिकमाथि नियन्त्रणको प्रयास अहिले थालिएको छ,’ उनले भने, ‘यसबारे हामीले जनतालाई बुझाउन जरुरी छ ।’
बार एसोसिएसनका उपाध्यक्ष रक्षा बस्यालले समाजलाई बढी फाइदा हुनेभन्दा पनि नियन्त्रणको आशयले कानुन ल्याउन लागिएकाले त्यसविरुद्ध एकजुट भएर बोल्नुपर्ने बताइन् । उनले अहिले ल्याउन लागिएको कानुन अभिव्यक्ति स्वतन्त्रतासँग जोडिने विषय भएकाले पेसागत संघ/संगठनहरू त्यसविरुद्ध सामूहिक छलफलबाट अघि बढ्नुपर्नेमा जोड दिइन् । ‘एकजुट भएर उभिनुपर्ने अवस्था आएको छ,’ उनले भनिन्, ‘हाम्रो अभियानमा राष्ट्रिय मानव अधिकार आयोगलाई पनि जोड्न सकिन्छ ।’ उनले सांसदहरूसँग अन्तर्क्रिया गरेर विधेयकले पार्न सक्ने प्रभावबारे बुझाउनु आवश्यक रहेको बताइन् ।
पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले विद्युतीय कारोबार ऐनको एउटा दफाको दुरुपयोगले लेखेकै कारण सयौं व्यक्ति र पत्रकारले दुःख पाइरहेका बेला नियन्त्रणमुखी अर्को कानुन ल्याउन खोजिएको बताए । उनले सूचना प्रविधि विधेयकमा दफा ८३ देखि १२० सम्म नागरिक अधिकार र प्रेसको अधिकार कुण्ठित गर्ने खालको प्रावधान रहेको बताए ।
‘विधेयकमा लेखनमा प्रतिबन्ध लगाउन सकिने खालका भाषा पनि छन्,’ उनले भने, ‘नागरिक अधिकार कुण्ठित हुनु भनेको प्रेसको अधिकार खोसिनु पनि हो ।’ उनले एकपछि अर्को गरी नागरिकको अधिकार कटौती गर्ने प्रयास भइरहेकाले त्यसविरुद्ध नागरिक अगुवा संस्थासँग सहकार्य गरेर अगाडि बढ्न महासंघले पहल गरिरहेको बताए ।
अन्तर्क्रियामा पत्रकार महासंघका पूर्वसभापति सुरेश आचार्यले विषयमा नियन्त्रण तथा त्यसको प्रकाशनमै रोक लगाउने प्रावधान घातक भएको बताए । अर्का पूर्वअध्यक्ष धर्मेन्द्र झाले लोकतान्त्रिक संरचनाभित्र मनोमानी शासन चलाउने प्रयत्न गरिएको बताए । उनले आफ्नो प्रतिरक्षाका लागि सरकारले आम नागरिकविरुद्धमा कानुन बनाउन खोजेको टिप्पणी गरे । पत्रकार ध्रुवहरि अधिकारीले धेरै कानुन बनाएर नागरिकको अधिकार कुण्ठित र निष्प्रभावकारी बनाउने प्रयत्न भइरहेको बताए । ‘सरकार धेरै कानुन बनाएर शासन गर्ने पक्षमा देखिन्छ । जति धेरै कानुन बनायो त्यति नै बन्देजहरू थपिँदै जाने हो,’ उनले भने ।
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले कानुनहरू ‘दण्ड प्रमुख’ भएर बनाउन थालिएको बताए । कुनै विशेष कानुन सामान्य कानुन वा अन्य विशेष कानुनसँग तालमेल गरेर नबनाउनु दण्ड सजाय निर्धारणकै सिद्धान्तविपरीत भएको उनले उल्लेख गरे । आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले संसद्ले यसमा जनताको प्रतिक्रिया लिनुपर्ने उनको सुझाव थियो ।
अधिवक्ता ओमप्रकाश अर्यालले विद्युतीय कारोबार ऐनलाई मान्यता दिने उद्देश्यले ल्याइएको विधेयकमा त्यो विषय सहायक र नागरिक अधिकार नियन्त्रण प्रमुख बनाइएको बताए । ‘विधेयकमा रहेका अमूर्त शब्दहरूले एकै पटकमा हजारौं घटनालाई वारदात घोषणा हुन सक्छन्,’ उनले भने, ‘त्यसमा संलग्न व्यक्तिले सरकारबाट गठित अदालतबाट दण्डित हुनुपर्ने छ ।’ विधेयकका प्रावधानहरूले सामाजिक सञ्जालका सञ्चालक, इन्टरनेट सेवा प्रदायक, प्रयोगकर्ता र मिडियालाई अप्ठ्यारो पार्ने उनको भनाइ थियो । अधिवक्ता टंक अर्यालले एउटै खालका कसुरमा फरकफरक कानुनमा फरकफरक सजायको व्यवस्था ठीक नहुने बताए ।
प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले कठोर दण्ड राख्दैमा समाजलाई नियन्त्रण गर्न नसकिने बताए । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सरकारको भक्तिमात्रै गाउने अवस्था निर्माण गर्न लागिएको बताए ।
विद्युतीय माध्यम र सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा ल्याइएको विधेयकमा राखिएको जन्म कैदसम्मको सजाय राखिएकाले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण हुने संशय बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वर्ष फागुनमा ल्याएको सूचना प्रविधि विधेयकलाई बहुमतका बलमा सत्तारूढ दलले विकास तथा प्रविधि समितिबाट हालै पारित गराएको छ । विपक्षी राजनीतिक दल, मिडिया, नागरिक समाज र संविधानविद्ले विधेयकमा सुधारको माग गरिरहेका छन् ।

समाचार

‘सरकार निरंकुशतातर्फ’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने गरी एकपछि अर्को विधेयक बनाएर सरकार निरंकुश बाटोमा अग्रसर भएको विज्ञहरूले टिप्पणी गरेका छन् । आवश्यकता र औचित्यसमेत सिद्ध नगरी सरकारले सूचना प्रविधि, मिडिया काउन्सिलजस्ता विधेयकहरू संसद्मा लगेर जनताको संविधानप्रदत्त अधिकार खोस्ने गम्भीर प्रयास गरिरहेको उनीहरूको निष्कर्ष छ ।
‘जननिर्वाचित भई सत्तामा पुगेकाहरूबाट जनतालाई नै ठेगान लगाउने गरी विधेयक बनाउने काम पटक–पटक भइरहनु शुभ संकेत होइन,’ राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेल भन्छन्, ‘बोल्न पाउने हक संविधानले प्रत्याभूत गरेको छ, यसलाई यो वा त्यो बहानामा फौजदारी कसुर सावित गर्न कदापि मिल्दैन ।’
कांग्रेसकी सचेतक तथा सांसद पुष्पा भुसालले सरकार शक्तिको उन्मादले विधि र प्रक्रियाहरू मिच्ने अवस्थामा पुगेको आरोप लगाइन् । ‘बहुमत छ भन्दैमा संविधान र प्राकृतिक कानुनको सिद्धान्तविपरीत हुने गरी विधेयक पेस गर्न पाइँदैन,’ उनले भनिन् । संवैधानिक तथा कानुन व्यवसायी मञ्च (क्ल्याफ), मानव अधिकार पत्रकार संघ (हुर्जा) र जुरी नेपालले शुक्रबार आयोजना गरेको ‘रचनात्मक संवाद’ मा उनले मौलिक हक प्रतिकूल हुने गरी ल्याइएका विधेयकहरू संशोधन नभई खारेज गर्नुपर्ने बताइन् ।
संविधान र कानुनका विज्ञहरूले पनि सरकारले ल्याएको सूचना प्रविधि विधेयक निरंकुश हुने आकांक्षाबाट प्रेरित रहेकाले खारेज गर्नुपर्ने माग गरेका छन् । ‘आवश्यकै नभएको सूचना प्रविधि विधेयक बनाएर सरकारले आफ्ना आलोचकलाई जन्मकैदसम्म गर्न सक्ने प्रावधान राखेको छ, त्यो पनि आफैंले गठन गरेको अदालतबाट फैसला गराएर,’ संविधानविद् भीमार्जुन आचार्य भन्छन् ।
आफैं अदालत गठन गर्ने, आफैं मुद्दा लगाउने, आफैं फैसला गर्ने र आफैंले थुन्ने प्रावधान रहेको उक्त विधेयक नेपालको संविधान र विधिको शासनको सामान्य सिद्धान्तविरुद्ध भएकाले तत्काल खारेज गर्नुपर्ने उनको माग छ । पत्रकार हरिहर विरहीले सरकारले ल्याएको विधेयकलाई सरकारको स्वेच्छाचारी कदमका रूपमा लिनुपर्ने बताए । अर्का पत्रकार कनकमणि दीक्षितले पूर्ण लोकतन्त्र भनिएको अहिलेको समयमा पनि अभिव्यक्ति स्वतन्त्रताकै लागि नागरिकहरू आन्दोलित हुनुपर्ने अवस्था आउनु दुःखपूर्ण भएको बताए । अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापाले ऐनले विरोधीलाई मात्रै दबाउँछ भन्ने सोच्नु सरकारको अदूरदर्शिता भएको टिप्पणी गरे । अधिवक्ता टीकाराम भट्टराईले विधेयकमा प्रस्तावित सूचना प्रविधि अदालतको गठन प्रक्रिया संविधानसम्मत् नभएको बताए । राजनीतिक विश्लेषक टीका ढकालले प्रस्तावित विधेयकमा रहेका विधिको शासनसँग बाझिने प्रावधानहरूलाई संसद्ले हटाउनुपर्ने बताए ।

Page 4
वाग्मती प्रदेश

'रोनाल्डो'ले घर भत्काउँदा संसद्मा तरंग

- रमेशकुमार पौडेल
केही वर्षअघि सौराहाको खोरसोरमा देखिएको रोनाल्डो हात्ती । अहिले मेघौली पुगेको रोनाल्डोका कारण स्थानीय त्रासमा छन् । फाइल तस्बिर ः कान्तिपुर

(चितवन) - चितवनमा ०६६ देखि ०६९ सालको हिउँदसम्म जंगली हात्ती ‘ध्रुवे’को आतंक थियो । उसले १५ जनाको ज्यानसमेत लियो । ध्रुवेले त्यसबेला संसद्मा पनि चर्चा पाएको थियो । अहिले ध्रुवे शान्त छ तर जंगली हात्तीका कारण पश्चिम चितवनको मेघौली क्षेत्र भने अशान्त छ । वडा कार्यालय, महानगरपालिका हुँदै जंगली हात्ती नियन्त्रणको स्वर संसद्सम्म उठेको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर २७, र २८ को वडा कार्यालय भवन, निकुञ्जको मेघौली मध्यवर्ती उपभोक्ता समितिका कार्यालय र पोस्टमा बुधबारदेखि स्थानीयले ताला लगाएका छन् । भरतपुर महानगरपालिकाका मेयर, प्रशासकीय अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी, निकुञ्जका प्रमुख संरक्षण अधिकृत, जिल्लाका प्रहरी प्रमुखको टोली नै मेघौली पुगेर स्थानीयसँग छलफल गरेका छन् । राष्ट्रिय सभामा सांसद पार्वती रावल दिलकुमारीले बिहीबार मेघौली क्षेत्रमा फैलिएको जंगली हात्तीको ‘आतंकलाई’ नियन्त्रण गर्नुपर्ने र स्थानीय ढुक्कसँग बस्न पाउने अवस्था सिर्जना गर्न माग गरिन् । स्थानीयका अनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर २७ र २८ मा पर्ने मेघौली क्षेत्रमा ‘रोनाल्डो’ र ‘गोविन्दे’ नाम गरेका दुईवटा जंगली भाले हात्तीले गाउँमा दुःख दिइराखेका छन् ।
निरन्तर त्रास
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मेघौलीमा जंगली हात्तीले दुःख दिने घटना नयाँ होइन तर यसपटक हात्तीले लामो समयदेखि सताइरहेको छ । ‘हरेक वर्ष जंगली हात्ती आउँछ । वर्षमा दुई–चार दिन आएर फेरि जंगलमै हराउँथ्यो,’ स्थानीय लोकनाथ सापकोटाले भने, ‘यसपालि पुस ७ गतेदेखि लगातार दुःख दिइरहेको छ । दुई हात्ती गाउँ पसेका छन् ।’ भरतपुर–२८ का वडाध्यक्ष आशबहादुर कुमालका अनुसार जंगली हात्तीले एउटा घर पूर्ण रूपमा भत्काएको छ । दुईवटा घरको पालीमा क्षति पुर्‍याएको छ । सात बिघाको हाराहारीमा केराखेती नोक्सान गरेको छ । भकारीमा राखेको धान खाएर नोक्सान पुर्‍याएको उनले बताए । केरा र अन्नबाली गरेर २० लाख रुपैयाँ बराबरको नोक्सान बनाएको उनको अनुमान छ ।
हात्ती गाउँ आएर घरगोठ भत्काउन थालेपछि सिद्धबहादुर रानामगर आफ्नो कच्ची घर छाडेर छिमेकी खडानन्द सापकोटाको घरमा सुत्ने गर्छन् । तीन छोरीसहित छिमेकीको घरमा आश्रय नलिएको भए उनी ठूलो दुर्घटनामा पर्न सक्थे । पुस २२ गते राति जंगली हात्तीले उनको कच्ची घर ध्वस्त पारेको छ । पूर्वसावधानी अपनाएका कारणले मात्र हालसम्म मानवीय क्षति हुन नपाएको स्थानीय लोकनाथ सापकोटाले बताए । ‘दुई–दुई वटा जंगली भाले हात्ती गाउँ हिँडेका छन् । केरा र धान नोक्सान गरे । घर पनि भत्काए । मान्छेलाई भने धन्न केही भएको छैन,’ मेघौली मध्यवर्ती उपभोक्ता समितिका उपाध्यक्षसमेत रहेका सापकोटाले भने, ‘हात्ती डुल्न थालेपछि सुरक्षित रूपमा बसेका कारण मान्छे जोगिएका हुन् ।’
जंगली भाले हात्ती ‘रोनाल्डो’ पूर्वी चितवनको सौराहा क्षेत्रमा बस्ने गर्थ्यो । यसपटक मेघौली छिरेपछि उसले आतंक सुरु गरेको स्थानीय बताउँछन् । चितवन निकुञ्जको विभिन्न सेक्टरमा भाले हात्तीहरू पोथी र आहाराको खोजीमा भौंतारिने गर्छन् । माडी क्षेत्रमा ध्रुवे हात्ती बस्छ भने गोविन्दे नामको अर्को हात्ती पनि त्यतै घुमिरहन्छ । रोनाल्डोले भने पूर्वी क्षेत्र कब्जा गरेको छ । यसबाहेक
चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज ओहोरदोहोर गर्ने हात्तीको झुण्ड नै हुने गरेको छ । यी हात्ती बेलाबेला स्थानीयका लागि समस्या बन्ने गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार यो आर्थिक वर्षमा जंगली हात्तीका कारण तीन जनाले ज्यान गुमाएका छन् । उनीहरू सबै माडीका बासिन्दा हुन् । अघिल्लो आव जंगली जनावरका कारण ११ जनाको मृत्यु हुँदा हात्तीले मात्रै ६ जनालाई मारेको थियो । मेघौली क्षेत्रमा रोनाल्डोकै आतंक रहेको उनी बताउँछन् । स्थानीयले दुई वटा हात्ती गाउँ आउने गरेको भने पनि निकुञ्जका अधिकारी एउटा मात्रै हात्ती गाउँ छिरेको बताउँछन् । ‘रोनाल्डोलाई बिहीबार डार्ट गरेर लठ्याएपछि रेडियो कलर बाँधेका छौं । कता जान्छ अब निगरानी गर्न सकिने भएको छ,’ सहायक संरक्षण अधिकृत घिमिरेले भने, ‘गाउँ छिरेमा जंगल धपाउने प्रबन्ध गर्छौं ।’
हात्तीलाई रेडियो कलर बाँधेर निगरानी गर्न सुरु भएपछि कार्यालयहरूमा लागेका ताला खुल्ने वडाध्यक्ष आशबहादुर कुमालले आशा गरे तर अर्को हात्तीलाई नियन्त्रणमा लिने प्रयास नगरेका कारण स्थानीय निश्चिन्त बन्न सकेका छैनन् ।
प्रजननका लागि जंगली भालेकै भर
जंगली भाले हात्ती स्थानीयका लागि त्रास बनेको छ तर चितवन निकुञ्ज क्षेत्रमा रहेका पालिएका पोथी हात्ती प्रजननका लागि जंगली भाले हात्तीकै भर पर्नुपर्छ । केही वर्षअघिसम्म निकुञ्ज क्षेत्रमा रोमियो, नानापाटेकर नामका जंगली भाले हात्ती सक्रिय थिए । त्यसपछि रोनाल्डो, ध्रुवे र गोविन्देको उदय भएको हो । अर्को जंगली भाले हात्ती पनि हुर्कंदै गरेको निकुञ्जका अधिकारी बताउँछन् ।
०४२ सालमा स्थापना भएको खोरसोर हात्ती प्रजनन केन्द्रमा ५० वटा छावा (बच्चा) जन्मेका छन् । केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार प्रजनन केन्द्रमा पहिला एउटा वीरेन्द्रप्रसाद नामको घरपालुवा भाले हात्ती थियो । उसको संसर्गबाट केन्द्रमा जम्मा दुई वटा मात्रै छावा जन्मिए । नभए निकुञ्जका ढोई (पोथी हात्ती) जंगली मत्ता (भाले) कै सम्पर्कबाट गर्भवती हुने गरेको चौधरीले जानकारी दिए । निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरे भाले हात्तीहरू पोथीकै खोजीमा हिँड्ने गरेको बताउँछन् । रोनाल्डो सौराहा र खोरसोर क्षेत्रमा सीमित थियो । ‘यो वर्ष कसरा आएर पोथी हात्तीसँग बसेको थियो, त्यसपछि मेघौलीसम्म पुगेछ,’ उनले भने । पोथी खोज्दै हिँड्ने भाले भोकाएपछि खाना खोज्न थाल्छ । खानाको खोजीमा गाउँ छिरेपछि दुर्घटना हुने खतरा बढ्ने उनले बताए ।

वाग्मती प्रदेश

‘छोरीको जन्मदर्ता गराउनै सकिएन’

समलिंगी अभिभावकको पीडा
- कान्तिपुर संवाददाता

(भरतपुर) - भरतपुर–१५ का मिलन बाँस्तोला ५० वर्षका भए । उनकी १० वर्षीया छोरी पाँच कक्षामा पढ्दै छिन् । ०६६ फागुन ११ गते जन्मिएकी उनको जन्मदर्ता गरिएको छैन । मिलनले छोरीको जन्मदर्ता गराउन नचाहेका होइनन्, धेरैपटक धाउँदा पनि जन्मदर्ता हुन सकेन ।
मिलन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गर्छन् । उनले समलिंगी बिहे गरेका छन् । १० वर्षअघि उनी र उनकी जीवनसाथी निर्मलाले अस्पतालबाट छोरीको अभिभावकत्व लिएका हुन् । छोरीको जन्मदर्ता गराउन जैविक अभिभावकलाई गुहार्न पुगेका उनीसँग नामबापत रकमको माग भएपछि त्यो बाटो पनि बन्द भयो । ‘वडामा कतिपटक धाइसकेँ,’ मिलनले भने, ‘बुबाको नाम लेख्ने ठाउँमा मेरो नाम लेख्न मिल्दैन भन्छन् ।’ उनको आफ्नो नागरिकता महिलाका नाममा छ तर छोरीको जन्मदर्तामा उनी बुबाकै रूपमा देखिन चाहन्छन् ।
२१ वर्षकी संगीता अधिकारीले नागरिकताका लागि धाउन थालेको तीन वर्ष भयो । नागरिकता नभएकै कारण उनले बैंक खाता खोल्न पाएकी छैनन् । पुरुषका रूपमा जन्म लिए पनि महिलाका नाममा नागरिकता बनाउन खोजेकै कारण उनलाई समस्या आइलाग्यो । ‘नागरिकताको सिफारिस माग्न जाँदा मेडिकल सर्टिफिकेट माग गरियो,’ भरतपुर–९ की स्थानीय उनले भनिन्, ‘लिंग परिवर्तनका लागि शल्यक्रिया गर्न पैसा छैन, तँ छोरा भएर नि छोरीका नाममा नागरिकता बनाउन आउने भनेर गाली गरेर प्रमाण देखाउन माग गरे ।’ नागरिकता बनाउन सिफारिस माग गर्दै उनी वडा कार्यालय धाउन छाडेकी छैनन् ।
नेपालको संविधान ०७२ ले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई संवैधानिक अधिकार प्रदान गरेको छ । संविधानको धारा १२ ले लैंगिक पहिचानअनुसारको नागरिकताको व्यवस्था गरेको छ भने धारा १८ मा विभेद गर्न नपाइने उल्लेख छ ।
लैंगिक पहिचानमा ‘अन्य’ शीर्षकअन्तर्गत नागरिकता पाउने प्रावधान भए पनि यो समूहले सहज रूपमा नागरिकता पाउन नसकेको मानव सचेत समाज चितवनका अध्यक्ष देव श्रेष्ठले बताए । ‘नागरिकता, पैतृक सम्पत्तिमा समान हक, विवाहलगायत सवालमा समाजले अझै पनि स्विकार्न सकेको छैन,’ उनले भने ।
लामो समयदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समानताको आवाज उठे पनि व्यावहारिक परिवर्तन ल्याउन कठिन भएको उनको भनाइ छ । ‘पहिचानको लडाइँमा केही प्रतिनिधि पात्रले पाएको सफलतामा खुसी भएर बस्ने अवस्था छैन,’ श्रेष्ठले भने, ‘हरेक गाउँ–सहरमा पहिचानको लडाइँ कष्टकर छ ।’ चितवनमा हालसम्म तेस्रोलिंगीको पहिचानसहित नागरिकता लिने एक जना मात्र छन् । मानव सचेत समाज चितवनको सम्पर्कमा ५ हजार ९ सय ७३ जना यौनिक तथा लैंगिक अल्पसंख्यक छन्, जसमा २ सय ७५ तेस्रोलिंगी छन् ।

वाग्मती प्रदेश

प्रदेश राजधानी हेटौंडा निश्चित

- सुवास बिडारी
नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल । तस्बिर ः कान्तिपुर

(मकवानपुर) - प्रदेश ३ को स्थायी राजधानी र नामकरण टुंग्याउन प्रदेशसभाको कार्यव्यवस्था तथा परामर्श समितिले कार्यसूची तय गरेपछि दुई वर्षदेखि पेचिलो बन्दै आएको विवाद साम्य हुने भएको छ ।
सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशसभामा प्रतिनिधित्व गर्ने पार्टीका नेतासहित शुक्रबार बसेको समितिको बैठकले शनिबार र आइतबार बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गरेको छ । कार्यसूचीअनुसार शनिबार
स्थायी राजधानीको स्थान र नाम प्रदेशसभामा
दर्ता हुनेछ ।
‘प्रदेशसभा दर्ता भएको स्थान र नामका विषयमा सदनमा छलफल सकिएपछि आइतबार निर्णयार्थ पेस हुनेछ,’ प्रदेशसभा सचिव रामशरण घिमिरेले भने, ‘दुवै विषयमा मत विभाजनद्वारा प्रक्रिया टुंगिनेछ ।’ राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनअनुसार पाँच जिल्लामध्येका जिल्ला र जिल्लाको कुनै स्थान नै तोकेर राजधानीका लागि सदनमा प्रस्ताव दर्ता हुनेछ । राजधानीसम्बन्धी अध्ययन समितिले काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई राजधानी सिफारिस गरेको थियो । प्रदेशसभाले पास गरेको प्रदेश नामकरणसम्बन्धी कार्यविधि ०७६ अनुसार नाम प्रस्ताव प्रक्रिया अगाडि बढ्नेछ ।
यसअघि सदनमा दर्ता भएका नाम पुनः प्रस्ताव गर्नुपर्ने हुन्छ । यसअघि सदनमा गौरीशंकर, नेवा–ताम्सालिङ, नेपाल मण्डल, पशुपतिलगायत नाम विभिन्न समयमा प्रदेशसभा सदस्यले दर्ता गराएका थिए । नामकरण सम्बन्धमा कार्यविधि नबनेको कारण दर्ता भएको भए पनि अब कार्यविधिअनुसार पुनः दर्ता गर्नुपर्ने भएको हो । नयाँ कार्यविधिअनुसार सदनमा दर्ता भएका नाममध्येमा मत विभाजनद्वारा एउटा नामको टुंगो लगाइनेछ ।
नेकपामा सहमति
राजधानी र नामकरणका विषयमा सत्तारूढ नेकपाभित्र सहमति जुटेको छ । शुक्रबारको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार प्रदेशसभामा स्थायी राजधानी हेटौंडा र नाम वाग्मती राखेर एउटा मात्रै प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले फ्लोर क्रस गर्ने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना नरहेको बताए । ‘हाम्रो पार्टीको आधिकारिक निर्णयअनुसार सबै अगाडि बढ्नुहुनेछ । पार्टीभित्र बहस र छलफल भएपछि एउटा निचोडमा पुग्नैपर्छ,’ उनले भने, ‘अब एउटा मात्र प्रस्ताव दर्ता हुन्छ । त्यसैमा मतदान हुन्छ ।’
नेकपा प्रदेश ३ इन्चार्ज तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले पार्टीको केन्द्रीय सचिवालयको निर्णयअनुसार संसदीय दलमा पनि निर्णय भएको बताइन् । ‘पार्टीको निर्णय सबैले कार्यान्वयन गर्नैपर्ने हुन्छ । एकमतले कार्यान्वयन गर्नेछौं,’ उनले भनिन् । प्रदेशसभामा नेकपाको ८० मत छ । ७४ मत भए स्थायी राजधानी र नामकरणका लागि पुग्छ ।
कांग्रेस हेटौंडाकै पक्षमा
स्थायी राजधानीबारे नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले पार्टी सभापति शेरबहादुर देउवाको निर्णय कार्यान्वयन गर्ने भएको छ । देउवाले यसअघि नै प्रदेशको अस्थायी राजधानी हेटौंडामै राख्ने निर्णय गरेको भन्दै कांग्रेस सोहीअनुसार अगाडि बढ्ने बुझिएको छ । तर, नामका विषयमा प्रस्ताव पेस गर्न भने सांसदलाई खुला राखिएको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बताए ।
केही सांसद असहमत भएकाले हेटौंडाकै पक्षमा नआए ह्वीप लगाउन सक्ने पनि संसदीय दलको बैठकले निर्णय गरेको छ । बैठकमा पार्टीको अनुमतिबिना हेटौंडा नछाड्न र मतदानमा सहभागी हुन संसदीय दलका नेता बानियाँले सांसदहरूलाई निर्देशन दिएका छन् । प्रदेशसभामा कांग्रेसका २२ सांसद छन् ।

वाग्मती प्रदेश

कांग्रेसद्वारा नगरसभा बहिष्कार

- कान्तिपुर संवाददाता

काभ्रे (कास)– कांग्रेसका तर्फबाट निर्वाचित नगरसभा सदस्यले पनौती नगरपालिकाको छैटौं सभा बहिष्कार गरेका छन् । बहुमतको आडमा पेल्न खोजेको र बोल्न पनि नदिएकाले शुक्रबारको बैठक बहिष्कार गरेको वडा नं ९ का अध्यक्ष सहकुल हुमागाईंले जानकारी दिए । कांग्रेसले विधेयक तयार नै नभई हतारमा नगरसभा सञ्चालन गरेको आरोप लगाएको छ ।
‘फोहोरमैला, शिक्षा, स्वास्थ्य, कृषि, टिपर आतंकलगायत विषयमा आफ्ना कुरा राख्दै थियौं, असम्बन्धित व्यक्तिले यस्ता विषयमा नबोल्न भन्दै मर्यादा सिकाउन थाल्नुभयो,’ अध्यक्ष हुमागाईंले भने । हुमागाईंका अनुसार वडा नं १ का अध्यक्ष गुणनाथ सापकोटाले नगरपालिकाले राम्रो काम गरिरहेको भन्दै अनावश्यक विवाद नगर्न भनेका थिए ।
अर्धवार्षिक समीक्षा गर्न बिहीबारबाट सुरु भएको नगरसभामा १२ जना वडाध्यक्ष र इच्छुक नगरसभा सदस्यले आफ्ना धारणा राख्ने कार्यसूची थियो । नगरप्रमुख र उपप्रमुखसहित पनौतीमा नेकपाको बहुमत छ । कांग्रेसका ६ वडाध्यक्षसहित २३ नगरसभा सदस्य छन् । नगरप्रमुख भीम न्यौपानेले भने बहिष्कार गरेको बारे आफूलाई जानकारी नभएको बताए । ‘उहाँहरूले बहिष्कार गरेको जस्तो लाग्दैन, अन्तिमसम्म नै हुनुहुन्थ्यो,’ प्रमुख न्यौपानेले भने ।

वाग्मती प्रदेश

एनसेल टावरमा आगजनी

- कान्तिपुर संवाददाता

नुवाकोट (कास)– नेत्रविक्रम चन्द समूहले आफ्ना कार्यकर्ता पक्राउ गरेको चार दिन बित्न नपाउँदै तारकेश्वर गाउँपालिका–५ स्थित मानेडाँडामा एनसेलको रिपिटर टावरमा आगजनी गरेको छ । बिहीबार राति साढे ११ बजे टावरमा जुटको बोरा प्रयोग गरेर आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट ब्याट्री, एटीएन बोर्ड, जेनेरेटर, पावर सप्लाई बोर्डलगायतका सामानमा क्षति पुगेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अबिनारायण काफ्लेले बताए । समूहका उपत्यका विशेष ब्युरो सदस्य एवं नुवाकोट जिल्ला सेक्रेटरी विन्तोष सिलवाल अशोकलाई मंगलबार पक्राउ गरी प्रहरी हिरासतमा राखेको थियो । नुवाकोटमा एनसेलका २३ वटा टावर छन् । चन्द समुहका कार्यकर्ताले ०७५ फागुनदेखि बिहीबारसम्म चार स्थानका एनसेल टावरमा आगजनी गरेका छन् ।

Page 5
उपत्यका

कीर्तिपुर किन भएन विश्वसम्पदामा सूचीकृत ?

- प्रशान्त माली
कीर्तिपुर डाँडामा रहेको उमामहेश्वर मन्दिर (पहिले र अहिले) । ३० वर्ष अघिसम्म दरबार क्षेत्रबाट यो मन्दिर स्पष्ट देखिन्थ्यो । ०४७ सालयता अग्ला भवन बन्न थालेपछि अहिले मन्दिर छोपिँदै गएको छ । तस्बिर सौजन्य ः युकियो निसिमुरा

(काठमाडौं) - हालै आयोजित ‘तेस्रो मेयर्स फोरम’मा कीर्तिपुरलाई विश्वसम्पदामा सूचीकृत गर्न सकिने आधारबारे गहन बहस चल्यो । १८ पालिकाका प्रतिनिधि सहभागी भएको फोरममा आधुनिक संरचना निर्माणले तीव्रता पाएपछि कीर्तिपुर विश्वसम्पदामा सूचीकृत हुनबाट विमुख भएको बारे चिन्तासमेत व्यक्त गरियो । काठमाडौं र काभ्रे उपत्यकाको ऐतिहासिक सम्पदा बस्ती संरक्षण गर्ने उद्देश्यमा छलफल गर्न जनप्रतिनिधि आइतबार कीर्तिपुरमा जुटेका थिए । त्यसो त कीर्तिपुरलाई विश्वसम्पदामा सूचीकृत गर्न पुरातत्त्व विभागले डेढ दशकअघि नै अध्ययन गरी प्रतिवेदन तयार पारिसकेको छ । त्यसयता पनि ऐतिहासिक कीर्तिपुरले मल्लकालीन संरचना परिवर्तन गर्दै गयो । आधुनिक शैलीले मौलिकता ओझेलमा पर्‍यो ।
विभागको प्रतिवेदनमा यहाँका कलासंस्कृति, आर्किटेक, इतिहासलगायतबारे अध्ययन गरिएको छ । मठमन्दिर, पाटीपौवा, पोखरी, ढुंगेधाराजस्ता मूर्त सम्पदा र त्यससँग जोडिएका भजनकीर्तन, पूजापाठ, जात्रापर्व इत्यादि अमूर्त सम्पदाबीचको सम्बन्धबारे पनि अध्ययन गरेको विभागका प्रमुख पुरातत्त्व अधिकृत सुरेशसुरस श्रेष्ठले बताए । ‘स्थानीयलाई मौलिक शैलीमा घर बनाउनुपर्छ भन्नेबारे विभागले मात्र सुझाव दिएर कार्यान्वयन गर्न सक्ने अवस्था आएन,’ उनले भने, ‘त्यसैले पनि कीर्तिपुर युनेस्कोको विश्वसम्पदामा सूचीकृत हुन नसकेको हो ।’
विशेष गरी ०५० सालयता यहाँका मल्लकालीन संरचनामा परिवर्तन हुन थालेको विज्ञहरू बताउँछन् । भूकम्पपछि पुनर्निर्माण गर्ने क्रममा पनि आधुनिक संरचना बनाइए तर सम्पदा विज्ञहरू भन्छन्, ‘अहिले पनि मौलिक संरचनालाई पुरानै ढाँचामा फर्काउन सकिन्छ ।’ फोरममा सहभागी जापानका प्राध्यापक एवं सम्पदाविज्ञ युकियो निसिमुराले भने, ‘स्थानीय सरकारले चाहे कीर्तिपुरलाई पुरानै स्वरूपमा ल्याउन सकिने आधार प्रशस्तै छन्, त्यसो भयो भने विश्वसम्पदा सूचीमा राख्न गाह्रो छैन ।’ प्राध्यापक निसिमुराले ३० वर्षअघि कीर्तिपुरको ऐतिहासिकतामाथि अध्ययन गरेका थिए । ‘०४६ यता व्यक्तिगत घर र जीवनशैलीमा बढी परिवर्तन आएको देखिन्छ,’ उनले भने, ‘तर, मठमन्दिर, पाटीपौवा, गल्ली, जात्रापर्व, परम्परा उस्तै छन् ।’ जापानमा ५० वर्षअघि नै आधुनिक भइसकेको बस्ती पुरानो स्वरूपमा ल्याइएको उदाहरण दिँदै उनले थपे, ‘यहाँ पाँच वर्षअघिसम्म ६० प्रतिशत घरहरू पुरानै शैलीमा थिए । तिनलाई मौलिक शैलीमा ल्याउन स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । हामी मल्लकालीन आर्किटेक चाहन्छौं ।’
काभ्रे उपत्यका, मकवानपुरको टिस्टुङ पालुङ, चित्लाङ, काठमाडौंका मच्छेगाउँ, सतुंगल, बलम्बु, थानकोट, फर्पिङ, ठेचो, चापागाउँ, बुलु, लेले, प्याङगाउँ, नगदेश, ठैव, हरिसिद्धि गरी ५४ वटा ऐतिहासिक बस्ती छन् । जहाँ अहिले धमाधम आधुनिक शैलीका घरभवन बन्ने क्रमले तीव्रता पाएको छ । मल्लकालीन शैली अपनाउन न स्थानीय सरकारले ध्यान दिए न त केन्द्र सरकारले चासो दियो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर नेपालको सम्पदा र सभ्यता जोगाउन मेयरहरूसँग सहकार्य गर्न तयार रहेको बताउँछन् । उनका अनुसार भारतमा मृत शरीर जलाएपछि अस्तु गंगामा लगेर सेलाइने चलन छ । नेपालमा वाग्मतीमा सेलाइन्छ । उनले भने, ‘यस्तो महत्त्व बोकेको वाग्मती सभ्यता जसरी भए पनि हामीले जोगाउनुपर्छ ।’ राजधानीबाहेक अन्य जिल्लाका नयाँ सहरलाई मौलिक रूपमा विकास गर्ने योजना रहेको सुनाए । सहर व्यवस्थापन गर्न छुट्टै ऐन ल्याउने तयारीमा सरकार रहेको उनको भनाइ छ ।
भूकम्पपछि ललितपुरको बुङमती र खोकना बस्ती मौलिक शैलीमा पुनर्निर्माणको योजना बन्यो तर जनप्रतिनिधि र स्थानीय पुनर्निर्माण समितिका पदाधिकारीबीच सहकार्य नहुँदा सम्पदा बस्ती पुनर्निर्माण ओझेलमा परेको छ । भूकम्पलगतै ललितपुर महानगरपालिका–२२ मा बुङमती क्षेत्र पुनर्निर्माण तथा विकास परिषद् र २१ नम्बरमा खोकना पुनर्निर्माण तथा पुनःस्थापना समिति गठन भएको थियो । स्थानीय निकायमा जनप्रतिनिधि आएको दुई वर्ष बिते पनि बस्ती पुनर्निर्माणलाई तीव्रता दिनेबारे स्थानीय पुनर्निर्माण समिति र जनप्रतिधिबीच पर्याप्त छलफल भएको छैन ।
हरिसिद्धिको समस्या पनि उस्तै छ । सम्पदा बस्ती पुनर्निर्माण गर्न एकीकृत योजना लगतसहितको डिजाइन तयार भयो तर जनप्रतिनिधिले चासो नदिँदा पुनर्निर्माण अलपत्र परेको छ । यसले सम्पदा बस्तीका पुरात्तात्त्विक महत्त्वका मठमन्दिर, पाटीपौवा पुनर्निर्माणमा समस्या देखिएको छ । भूकम्पले ध्वस्त बुङमतीको रातोमत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माण हुन सकेको छैन । मत्स्येन्द्रनाथको मूर्ति हाल टहरामा छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मत्स्येन्द्रनाथ मन्दिर अब ठेकेदारले नभई स्थानीय उपभोक्ता समितिले पुनर्निर्माण गरिने बताए । ‘सम्पदा पुनर्निर्माणले ठेकेदार मात्र मोटाउने काम भयो,’ उनले भने, ‘अब स्थानीयले नै बनाउँछन् ।’
सम्पदा बस्ती संरक्षण गर्न सहरी विकास तथा भवन निर्माण विभागमा सुचीकृत गर्नुपर्ने प्रावधान छ । सम्पदा बस्तीमा सूचीकृत भए पर्यटक वृद्धि भई त्यहाँ स्थानीयको आम्दानी बढ्न्,े राज्य र विदेशी दातृ निकायले दिने सहयोग उपभोग गर्न पाउनेजस्ता फाइदा छन् तर भवन विभागमा दर्ता गर्ने प्रावधानबारे बल्ल थाहा पाएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बताए । ‘ऐनमा सम्पदा बस्तीमा सूचीकृत गर्न ५० वटा घर अनिवार्य चाहिन्छ । कीर्तिपुरकै चिलंचो बस्तीमा त्यति संख्यामा घर छैन,’ उनले भने, ‘यसमा सम्बन्धित निकायले विचार पुर्‍याउनुपर्‍यो ।’
उनले कीर्तिपुरको मुख्य क्षेत्रभित्रको जात्रा रुट अथवा गढ पर्खालभित्रको बस्तीमा छुट्टै मापदण्ड भएको दाबी गरे । भवन विभागका सिनियर डिभिजन इन्जिनियर सुरेन्द्रमोहन श्रेष्ठ सम्पदा बस्ती दर्ता गर्नेबारे प्रचारप्रसार गरिरहेको बताउँछन् । ‘नीति–नियमबारे थाहा छैन भन्न पाइँदैन,’ उनले भने, ‘कुनै पनि बस्तीको चारकिल्ला तोकेर त्यसमा भएका मूर्त/अमूर्त सम्पदालगायत परम्पराको विशेषता झल्किने रिपोर्ट तयार गरेर दर्ताका लागि विभागमा पेस गर्न सकिन्छ ।’
भवन विभागले बनाएको कतिपय ऐन पुरातत्त्व विभाग स्मारक संरक्षण ऐनसँग बाझिएको पुरातत्त्व अधिकृतहरूले बताएपछि इन्जिनियर श्रेष्ठले जुधेका ऐनकानुन परिमार्जन गरेर अगाडि बढ्न तयार रहेको जवाफ दिए । खोकना, बुङमती र हरिसिद्धिमा बनाइएको सम्पदा बस्तीको डिजाइनमा भुइँतलामा क्युरियो सप, काष्ठकला, प्रशिक्षण केन्द्र, क्याफे, होटल तथा रेस्टुरेन्ट, पहिलो तलामा होमस्टे, लज, सर्भिस अपार्टमेन्ट र दोस्रोमा भान्सा रहने व्यवस्था छ । घरधनीलाई लक्षित गरी बनाइएका आवासका भुइँतलामा क्युरियो, पहिलो र दोस्रोमा घरधनी बस्ने र माथिल्लो तलामा भान्सा हुनेछ । सार्वजनिक तथा निजी संरचनामा सटर, रेलिङ, स्टिलको झ्याल ढोका, रङ, साइनबोर्ड, छत, पानीट्यांकीलगायत आधुनिक सामग्री प्रयोगलाई निरुत्साहित गरिएको छ ।

उपत्यका

सार्वजनिक स्थलको पर्खाल भत्काइँदै

- कान्तिपुर संवाददाता

(ललितपुर) - ललितपुर महानगरपालिकाले पुराना तथा ऐतिहासिक महत्त्व बोकेका सार्वजनिक भवन तथा स्थानको पर्खाल भत्काई खुला बनाउने काम सुरु गरेको छ । पैदलयात्रु तथा सर्वसाधारणलाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागेको महानगरले जनाएको छ । पुराना तथा ऐतिहासिक महत्त्व बोकेको सार्वजनिक भवनमा सर्वसाधारणको पहुँच नहुनाले त्यसभित्रका दृश्य देखाउने महानगरको लक्ष्य छ ।
योजनाअन्तर्गत पहिलो चरणमा पुल्चोक इन्जिनियरिङ कलेजको पर्खाल भत्काउने काम भइरहेको छ । कलेज हाताभित्र आनन्द निकेतन दरबार, पानीका फोहोरा, दुई वटा राणाकालीन घर, बगैंचालगायत विभिन्न संरचना छन् । उक्त दरबारबारे स्थानीयलाई पनि थाहा नभएको महानगरका मेयर चिरीबाबु महर्जनले बताए । ‘सर्वसाधारणलाई पर्खालभित्र के छ, थाहै छैन,’ उनले भने, ‘त्यसैले आजसम्म नदेखेका मौलिक, कलात्मक, मनमोहक दृश्य अब हामी दिनहुँ हेर्न र अवलोकन गर्न सक्छौं ।’ टुँडिखेलमा जस्तो पर्खाल भत्काएर फलामे डन्डी राखेर भित्र हेर्न मिल्ने बनाइने उनको भनाइ छ ।
महानगरले क्याम्पसको पर्खाल भत्काउने, रेलिङ बार लगाउने र मौलिक शैलीमा गार्ड हाउस निर्माण गर्ने जिम्मा जेएसएस इन्जिनियरिङ सर्भिस कम्पनीलाई दिएको छ । कम्पनीले ६४ लाख ८९ हजार रुपैयाँमा उक्त काम गरिसक्नुपर्ने महानगरका इन्जिनियर हरिषचन्द लामिछानेले बताए । ‘क्याम्पस परिसरको पर्खाल भत्काई रेलिङ लगाइन्छ,’ उनले भने, ‘भित्रको खाली भागमा पार्क बनाइन्छ, जसका लागि अहिले डिजाइन निर्माण हुँदै छ ।’
अब पर्खालकै कारण भित्र भएका सम्पदा तथा संरचना हेर्नबाट सर्वसाधारण वञ्चित हुनु नपर्ने महानगरका प्रवक्ता राजु महर्जनले बताए । ‘उपत्यकामा खुला स्थानको अभाव छ, भएका पनि पर्खाल लगाई छोपिएको छ,’ उनले भने, ‘खुला स्पेसको महसुस गराउन पनि यस्तो योजना बनाएका हौं ।’ जावलाखेल फुटबल मैदानको पर्खाल पनि भत्काउन थालिएको छ । उक्त कामका लागि त्रिवेणी लाफा कम्पनीले एक करोड १२ लाख रुपैयाँमा ठेक्का लिएको प्रवक्ता महर्जनले बताए ।

उपत्यका

पार्सलको नाममा ठगी गर्ने पक्राउ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– विदेशबाट पार्सल पठाएको भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले फेसबुक, ह्वाट्स एप, ट्विटर, इमो, भाइबरलगायत सामाजिक सञ्जालबाट विदेशी नागरिकका नाममा आईडी खोलेर ठगी धन्दा चलाउने दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राहदानी नम्बर ए ०९०३९०७२ बाहक नाजेरियाका ४० वर्षीय साइरिल चिनोन्सो आइबेस, राहदानी नम्बर १७ एपी ४१८७१ बाहक आइभरिकोष्टका २३ वर्षीय आसापे एडजी पिइरजिन, चितवन गुञ्जनगर–६ घर भई काठमाडौं खुशीबु बस्ने ४० वर्षीय रामचन्द्र गैरे, ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र चितवन कालिकानगर–७ घर भई बनस्थली बस्ने ३१ वर्षीय हरि ओझा छन् ।
विदेशी नागरिकको नाममा प्रोफाइल तयार गरी विभिन्न सामाजिक सञ्जालमार्फत नेपालीलाई साथी बनाई बहुमूल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलरसमेत भएको पार्सल पठाइदिन्छु भन्दै उक्त सामानको फोटो पठाई प्रलोभनमा पारी ठगी गरेको पाइएको छ । नेपालमा भएको नम्बरबाटै विदेशी नागरिकले फोन गरी ‘तपाईंको सामान लिएर आएको थिएँ, एयरपोर्टमा एक्सरे मेसिनबाट हेर्दा डलर रहेछ, छुटाउन नेपाली पैसा चाहियो’ भनेर विभिन्न व्यक्तिका खातामा रकम जम्मा गर्न लगाउने गरेको पाइएको छ । पक्राउ परेका सबैलाई ठगी मुद्दामा म्याद थप गरेको प्रहरीले जनाएको छ ।

उपत्यका

‘स्टप नभएको ठाउँमा रोक्छन्, छिटो नओर्ले गाली गर्छन्’

- सीमा तामाङ

(काठमाडौं) - महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार सुन्धारास्थित काठमाडौं मलअगाडि सार्वजनिक सवारीसाधनको अनुगमन गरेको छ । अनुगमनका क्रममा महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल र प्रहरी उपरीक्षक राजकुमार बैदवारले बसमा सवार यात्रुलाई सार्वजनिक सवारीमा यात्रा गर्दा के–कस्ता समस्या तथा सुझाव छन् भनी
प्रश्न गरेका थिए । जवाफमा बा ४ ख ५६४० नम्बरको लगनखेल–बूढानीलकण्ठ रुट चल्ने साझा बसमा सवार एक यात्रुले भने, ‘साझा बसमा समस्या छैन, तर अन्य सवारीमा चढ्दा निकै समस्या भोग्नुपर्छ ।’
अनुगमनका क्रममा बा ४ ख ७४०४ नम्बरको दिगो सार्वजनिक बस निकै फोहोर देखिएको प्रहरी टोलीले पाएको थियो । उक्त बसको बाहिरी भाग र चालक बस्ने स्थानमा पनि धुलो, हिलो देखिन्थ्यो । अनुगमन टोलीको प्रश्नमा चालक निरञ्जन राईले भने, ‘बिहान ४ बजे हिँडेपछि बेलुका १० बज्छ । अहिले चिसोको मौसम भएकाले दैनिक सफा गर्न पाएको छैन ।’
बा १ ज ९२५६ को माइक्रोबसका चालक राजेन्द्र तामाङ जुत्ता–चप्पल नलगाई बस चलाइरहेको अवस्था थिए । चालक र सहचालक दुवैले ‘अशोभनीय’ पोसाक लगाएको भन्दै ट्राफिक महाशाखाको टोलीले चालकको हातमा पत्र थमाइदियो । जसमा सवारी चलाउँदा जुत्ता नलगाएको र चालक–सहचालकको गेटअप शोभनीय नभएको लेखिएकोमा टिक लगाइएको थियो । ‘अब चालकले जुत्ता लगाएर गाडी चलाउनुपर्छ,’ टोलीका संयोजक एसपी बैदवारले
भने, ‘एक हप्तासम्म सुधार नगरे हामी कारबाही बढाउँछौं ।’ टोलीले पैदलयात्रुसँग पनि सवारी समस्याबारे बुझेको थियो । यात्रु विन्दुकान्त घिमिरेले कतिपय गाडीले तोकेको भन्दा बढी भाडा लिने गरेको गुनासो सुनाए । ‘४ किलोमिटर यात्रा गर्दा १४ रुपैयाँ र ५ किलोमिटर यात्रा गर्दा १६ रुपैयाँ तिनुपर्छ,’ उनले भने, ‘तर सहचालकले २० रुपैयाँ लिन्छन् ।’ गाडीमा भाडादर टाँसेको नपाइएको नपाइएको पनि घिमिरेले बताए । अर्का यात्रु सुजन बज्राचार्यले सहचालकलाई पनि बाहिर टाउको निकाल्न नपाउने नियम ल्याउनुपर्ने टोलीलाई सुझाए । ‘चढाउने बेला स्टप नभएको ठाउँमा पनि रोकेर चढाउँछन्,’ उनले आफ्नो अनुभव सुनाए, ओर्लंदा भने छिटो ओर्लनु भन्दै गाली गर्छन् ।’
टोलीले २३ वटा भाडाका सार्वजनिक सवारीसाधनमाथि अनुगमन गरेको थियो । महाशाखा प्रमुख ढकालले यात्रुहरूले भाडा तिरिसकेपछि त्यो अनुसार सुविधा पाउनुपर्ने भन्दै अभियान सुरु गरेको बताए । ‘एक हप्ताको समय दिएर सुध्रिन मौका दिएका छौं,’ उनले भने, ‘सुधार नभए एक हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउनेछौं ।’ महाशाखाले पुस २० गते उपत्यकाका ३२ वटा कम्पनी र मजदुर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग छलफल गरेको थियो । जसमा यातायात व्यवसायीले सर्वसाधारणलाई सास्तीबिना सेवा दिने प्रतिबद्धता जनाएका थिए । अनुगमन टोलीमा प्रहरी उपरीक्षक बैदवारको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर, कम्पनी/प्रालिका प्रतिनिधि गरी आठ जना छन् ।
यस्तै, सहरी विकास मन्त्रालयले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई एक सय २० थान स्टप बोर्ड हस्तान्तरण गरेको छ । राज्यमन्त्री रामवीर मानन्धरले शुक्रबार बोर्ड हस्तान्तरण गर्दै पैदलयात्रुलाई सुरक्षित रूपमा तोकिएको स्थानबाट मात्र बाटो काट्न बोर्डले सजिलो बनाउने बताए । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा पैदलयात्रुलाई अनिवार्य रूपमा जेब्रा क्रसिङ, आकाशेपुल तथा तोकिएको ठाउँबाट बाटो काट्न सुसूचित गर्न बोर्डको प्रयोग गरिने महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताए । बोर्डहरू सेफर नेपाल ट्राभल्स एन्ड टुर प्रालिले तयार पारेको महाशाखाले जनाएको छ ।

Page 6
विविधा

पठन संस्कृतिका बाधकहरू

- हरिहर तिमिल्सिना

 

विद्यालयहरू शिक्षा, संस्कृति र सभ्यताको जग निर्माण गर्ने थलो हुन् । विद्यार्थीलाई नम्बर दिएर पास/फेलको ठप्पा (ट्याग) लगाउने आधिकारिक संस्थामात्रै होइनन् । दुर्भाग्यको कुरा के छ भने धेरै विद्यालय र शिक्षकले पास/फेलको अङ्कगणित भन्दा परको कुरा सोच्नै चाहेको देखिएन । तोकिएको पाठ्य–पुस्तकका पाना–पानामा के के छन्, गायत्री मन्त्र जसरी घोक्नु/घोकाउनु र परीक्षामा जप गरेर राम्रो अङ्क ल्याउनुलाई नै सफलताको एकमात्र सूत्र मान्नेहरू धेरै छन् । पठन संस्कृतिको विकासले या भनौं विद्यार्थीलाई पाठ्य–पुस्तक बाहेकका अन्य पुस्तक अध्ययन गर्न दिनाले हुने फाइदाबारे विद्यालय र शिक्षकहरू बेखबर छैनन् । तर यसतर्फ तिनीहरूको उदेकलाग्दो उदासीनता देखिन्छ । पठन संस्कृतिमा बाधा पुर्‍याउने विभिन्न तत्त्वहरू घर–घरमा व्याप्त छन् । आमा चिन्नुभन्दा अगाडि नै मोबाइल चिन्न थालेका आजका बच्चाबच्चीको पठन संस्कृतिमा असर पुर्‍याउने खतरनाक बाधाहरू के–के हुन् त ?
शिक्षक ः पठन संस्कृतिबारे छलफल गर्ने सन्दर्भमा भेटिएका कतिपय शिक्षकका कुरा सुन्दा छक्क परिन्छ । उहाँहरूका भनाइ हुन्छन् ः मैले त
आफ्ना पाठ्य–पुस्तक बाहेकका अरु किताब पढेकै छैन । नभएको समय खर्च गरी–गरी किन अरु किताब पढ्नु ? कतियप शिक्षकले त पाठ्य–पुस्तक बाहिरका किताब पढ्दा विद्यार्थी बिग्रन्छन् भन्ने कु–विचार बोकेको पनि पाइयो । शिक्षकले नपढ्नु जस्तो घातक शिक्षा क्षेत्रमा अरु कुनै छैन । त्योभन्दा पनि घातकचाहिँ विद्यार्थीलाई पढ्न उत्साहित नगर्नु हो । सरकारले वर्षेनि शिक्षक तालिममा खर्च गरेको ५० करोड रुपैयाँ तबसम्म लगानी बन्न सक्दैन, जबसम्म तिनले पठन संस्कृतिको विकास गर्दैनन् । एउटा शिक्षकले सके वर्षमा २०, नसके कम्तीमा महिनामा एउटा राम्रो किताबमात्रै पढ्ने हो भने उसलाई तालिमको खासै आवश्यकता पर्दैन ।
विद्यालय ः सहरी क्षेत्रका कतिपय विद्यालयले पठन संस्कृतिका लागि कक्षाकोठाभित्र किताबी कुना/बुक कर्नर स्थापना, जन्मदिनमा पुस्तक उपहार अभियान, पुस्तक समीक्षा, लेखकसित साक्षात्कार, रिडिङ क्लब स्थापना, पठन अनुभव साटासाट, पुस्तकका लागि चन्दा सङ्कलन तथा ग्रामीण स्थानका विद्यालयमा पुस्तकालय स्थापना गर्न सहयोग गरिरहेका छन् । तर हाम्रो वर्तमान सन्दर्भमा पठन संस्कृतिको बाधकका रूपमा विद्यालय पनि देखापर्न थालेका छन् । कतिपय विद्यालयका प्रशासक नै पठन संस्कृतिले विद्यार्थीमा ल्याउने चामत्कारिक सुधारप्रति ध्यान दिँदैनन् । कतिपयलाई अतिरिक्त पाठ्य–पुस्तकको अध्ययनले नेपाली र अङ्ग्रेजी भाषालाई मात्र सहयोग गर्ने हो भन्ने भ्रम रहेछ । कथा, कविता, जीवनी, विज्ञान, संस्कृति, भूगोल, इतिहासका पुस्तक अध्ययनले विद्यार्थीहरूमा व्यवहार कुशल सीप, तर्क गर्ने क्षमता विकास र सिर्जनशीलता अभिवृद्धि हुन्छ भन्ने तथ्यलाई तिनले बेवास्ता गरिरहेका छन् । एक अध्ययन अनुसार धेरै पुस्तक पढ्ने बालबालिकामा आपराधिक मानसिकताको विकास हुन पाउँदैन । बालबालिकालाई असल बाटोमा लगाउने पहिलो साथी नै राम्रो पुस्तक हो ।
अभिभावक ः अभिभावकहरू
आफ्ना सन्तानलाई महँगो मोबाइल, लुगा, जुत्ता, घडी, खेलौना किन्दिन तयार हुन्छन्, तर पुस्तक किन्दिन तयार हुँदैनन् । विद्यालयले पुस्तक किनाएर पठायो भने अतिरिक्त आर्थिक बोझ थोपरिदिएको भनेर गनगन गर्छन् । जाँचमा नआउने कुरा किन पढ्नु भन्ने मान्यता धेरैले बोकेका हुन्छन् । हो, सबै किताब राम्रा हुँदैनन् । सबै खानेकुरा पनि राम्रा हुँदैनन् । मानिसको दिमागलाई आवश्यक पर्ने खुराकचाहिँ राम्रा किताबले परिपूर्ति गर्छन् । यस्ता पुस्तक सम्पत्ति र घरका गहना पनि हुन् । चौबिसै घन्टा मोबाइल र ग्याजेटमा टाँसिन खोज्ने बालबालिकाको हातमा किताब थमाउने कोसिस गर्दा कल्याण हुन्छ । हालसालै सार्वजनिक एक तथ्याङ्कले भन्छ– ग्याजेट प्रयोगकर्ताको सूचीमा नेपाल विश्वको सातौं स्थानमा छ । यसले हामीलाई कता लाँदैछ ?
समाज ः विदाका बेला बालबालिकालाई सकेसम्म राम्रा किताब किन्ने वातावरणका मिलाइदिनु सबैको कर्तव्य हो । यसमा विद्यालय, घरपरिवार र समाजको उत्तिकै भूमिका रहन्छ । बालपुस्तक बिक्री गरेर विदेशी प्रकाशनले नेपालबाट अर्बौं रुपैयाँ लाने गरेका छन् । गुणस्तरीय पुस्तकहरू मुलुकभित्र छापिएमा जति पनि बिक्री हुन्छन् । गुणस्तरीय पुस्तक प्रकाशन गर्ने काम व्यापार मात्रै नभएर मुलुकको सेवा पनि हो । नेपालमा लगभग ४० लाख विद्यार्थी छन् । तिनलाई अतिरिक्त पठनमा तान्न सकियो भने सबैको कल्याण हुनेछ । भौतिक संरचनाको विकाससँगै पठन संस्कृतिको पनि विकास गर्नुपर्छ ।

 

विविधा

कानुन, जनता र बीपी

समय रेखा
- अभि सुवेदी

शिर ठाडो राख्नु मानिसको सबैभन्दा ठूलो कर्म हो, अनि उसको पहिचान हो । मानव जातिको इतिहास त्यत्ति एउटा सानो अभ्यासमा अडेको देखियो । हामी नाट्यमञ्चका मानिस, एउटा निर्देशकको सबै कामको सार त्यत्ति अभिनयमा देख्छौं । शिर ठाडो गरेर आँधी चलाउन सक्ने पात्रले पनि कहीं विपरीत नियति भोग्छ । तर नाटकमा मानिसको शिर उठाउनु सबै अभिनयको आत्मा हो । ग्रीस मानव चेतना जनिन नाटक अनि प्रजातन्त्रको पनि थलो हो । प्रजातन्त्रको शक्ति भनेकै त्यही मुक्त मानिस हो । जुन राजनीतिक प्रणालीले मानिसको शिर ठाडो राख्छ, त्यो लोकतान्त्रिक प्रणाली हो । यी कुरा त्रिभुवन विश्वविद्यालय, अंग्रेजी विभाग अन्तर्गत विद्यावारिधि गर्ने शोधकर्ताहरूको निम्ति ‘पर्फर्मेन्स’ कला, राजनीति र मञ्चका सन्दर्भमा प्रस्तुत मेरो सेमिनार कक्षामा मैले राखेको थिएँ । त्यसमा विश्वेश्वरप्रसाद कोइराला उर्फ बीपीका रचना र उनको अदालतको बयान, उनका संस्मरण र साहित्यिक रचनाका अन्तर्यको अनि मैले त्यसमा लेखेको नाटक ‘सान्दाजुको महाभारत (२०७३)’ लाई आधार बनाएको थिएँ । यो लेख त्यही संकथनको सार हो ।
मूलतः यसमा दुई कुरा छन् । पहिलो, हामी लोकतन्त्र र मानिसको स्वतन्त्रताको सम्बन्ध जोडिएको छ भन्ने कुराबाट अलिक टाढा हुँदै गएका छौं । विश्वका अनेकौं प्रजातान्त्रिक देशहरूमा पनि यो धार देखिँंदै गएको छ । हामी लोकतान्त्रिक गणतन्त्रको संविधानलाई प्रयोग गर्ने कर्ममा अलिक बाटो बिराउन लागेका छौं । अथवा जानी–जानी यसो गर्दैछौं कि भन्ने अहिले मुख्य छलफलको विषय हुँदै गएको छ । दोस्रो, बीपी कोइरालाको राजनीति मानिसको सम्मानले बनेको थियो भन्ने कुरासँगै उनले पछिल्लो समय लिएका निर्णयहरूमा उनको एकल पात्रको चरित्र देखिएको थियो भन्ने हो । ती एक राजनीतिज्ञ हुँदाहुँदै पनि सिर्जनशील र संवेदनशील भएको कारण एक पात्र बन्दै गए । तिनले लिएका राजनीतिक निर्णयहरूमा त्यो पात्रको कालजनिन अवस्थाको प्रभाव देखियो । त्यसरी लिएका निर्णयहरूमा तिनको ‘भिजन’ र भविताको लोकतान्त्रिक काल्पनिकी साथै थियो । तर तिनको व्याख्या गर्नेहरूले बीपीको यस्तो पात्रजनिन प्रस्तुतिलाई अर्कै किसिमले व्याख्या गरेको देखियो । अहिलेको अवस्थालाई वरिष्ठ पत्रकारहरूले गरेका केही चर्चाबाट त्यो कुरा टड्कारो गरी देखिन्छ । संगीत श्रोताको विचारमा अहिले राजा महेन्द्रलाई बढोत्तरी गर्न बीपीलाई होच्याउने क्रम बढेको छ । (नयाँ पत्रिका, १३ साउन २०७६) । अर्कातिर किशोर नेपालको विचारमा उनकै दलमा ‘स–साना बीपी कोइरालाहरू’ (कान्तिपुर, पुस २४, २०७६) जन्मिएका हुनाले आफ्नै संरचनाभित्र बीपीको इतिहास अप्ठ्यारोमा परेको देखिएको छ । किशोर भाइले देखेको उत्तर–आधुनिक कांग्रेसको बहुचित्र बुझिनसक्नु छ ।
बीपीले लिएका राजनीतिक निर्णयहरू बुझ्न हामी साहित्यलाई पनि प्रयोग गर्नु एक अर्थपूर्ण तरिका ठान्छौं । बीपीले २०३३ सालमा भारतबाट नेपाल फर्कनलाई अंगिकार गरेका राजनीति र सम्झौताका सिद्धान्तलाई बुझ्न उनको संकटमा परेको उपन्यासको पात्रजस्तो अवस्थालाई ध्यानमा राख्नुपर्छ । त्यसैले हतियार संकलन गरेर ती सबै बंगलादेशका मुक्तिवाहिनीलाई दिएर रित्तो भएको अवस्था अनि इन्दिरा गान्धीका वचन र धम्कीले एकैपटक झड्का लागेका बेलाको एक राजनीतिक व्यक्तिका मनस्थितिको परिप्रेक्ष्यमा तिनलाई हेर्नु बढी सान्दर्भिक हुन्छ । उनको त्यस्तो अवस्थालाई चित्रण गर्न बीपीको आत्मवृत्तान्त को आफूले गरेको समीक्षा सिनास जर्नल (जुलाई १९८८) बाट उल्था गरेर तलको अनुच्छेद राख्न चाहन्छु ।
‘बीपीको अनवरत हतियार भेला गर्ने अभियान, नेपालको प्रधानमन्त्रीसम्म पुगेको अवस्था फेरि जेलजीवन, स्वतन्त्रता र फेरि त्यत्तिकै व्यग्रताले हतियार भेला गर्ने कर्म सबैले भन्छन्, बीपी एक सक्रिय र निर्णायक अवस्थामा पुगेका नेता थिए । उनको व्यक्तित्व बहुआयामिक थियो । ती एक मसिहा थिए, एक प्रजातन्त्रका योद्धा थिए र थिए ग्रीक मिथकको एउटा ढुङ्गो तलतिर लडाउनु र फेरि चढाउनुले दण्डित सिसिफस पात्र जो जीवनमा तिनै लयहरू स्क्वायर एकबाट दोहोर्‍याइरहनुपर्ने कर्मले दण्डित थिए । बीपीको राजनीतिक क्षमता अनि भिजन र व्यक्तित्वले गर्दा यिनको रिस गर्ने नेपाली र भारतीय विरोधीहरूबारे बुझ्ने नजिकैका मित्रहरू थोरै थिए । यिनका मित्रहरू र प्रशंसक पनि थिए’ (२९४) । विडम्बनाको कुरा के छ भने राजा महेन्द्र एक एक्ला र अन्तर्मुखी मानिस थिए, जसले बीपीलाई पछि गएर बन्दी बनाए र एकतन्त्री पञ्चायत शासन चलाए । त्यसो त अमूक व्यक्ति ‘कुनै दलमा सम्बद्ध होस् वा नहोस्, जसले उनको संस्मरण पढ्छ, ऊ एउटा भ्रममुक्त, किञ्चित बढी कर्म गर्ने र एक साहसी मुक्तियोद्धाको संसारमा पस्छ, जो खासै पूरा हुन नसकेका सपनाहरूको एउटा भारी बोकेर हिँंड्थ्यो । अनि त्योसँगै पाठक नेपाली इतिहासको एक उत्ताल र महत्त्वपूर्ण खण्डमा पस्छ, जुन इतिहास आज बीपीले भोगको भन्दा फरक तर उनले कल्पना गरेका चरित्र र झन् धेरै चुनौतीहरू लिएर हाम्रो ढोकामा आइपुगेको छ’ (२९८) । जर्मन दार्शनिक वाल्टर बेन्जामिनले इतिहास वर्तमानमा एक मसिहा शक्तिले फर्केर आउँछ, त्यसैले वर्तमान एक महत्त्वपूर्ण क्षण हो भनेजस्तै यो कुरालाई बुझ्नु उपयुक्त ठान्छु यहाँ । म यहाँ बीपीको यो स्वभावलाई बुझेका एकजना विदेशी विद्वान र कूटनीतिमा काम गरेका व्यक्तिको सन्दर्भ ल्याउन चाहन्छु ।
जापानमा मैले राजदूत केदारभक्त माथेमाको निवासमा १८ मार्च १९९८ मा पहिले नेपालमा राजदूत भएर काम गरेका एकजना डा. निसिजावालाई भेटेंँ । ती बीपीका मित्र थिए । बीपी दिवंगत भएका बेला उनी यहाँ जापानका राजदूत थिए । उनले त्यो दिन राजदूतावासमा काम गर्ने सबैलाई विदा दिएर उनको महायात्रामा सामेल हुन प्रेरित गरेको कुरा सुनाए । त्यो दिन केदारभक्त माथेमाका मुख्य अतिथि जापान भ्रमणमा गएका शेरबहादुर देउवा थिए । त्यही प्रसङ्गमा निसिजावाले बीपी र कांग्रेसको प्रसङ्ग निकाले अनि भने, बीपी भविष्यमा उनको दलमा अर्को पुस्ताका कस्ता नेता हुनेहुन् भन्ने कुरामा बढी चिन्तित थिए । तिनले बीपीको एक मानवीय ‘हिरो’को ‘ओडिसी’ देखेको कुराले मलाई धेरै उद्वेलित बनायो । मैले उनलाई बीपीको साहित्यबारे भनेँ । तिनलाई त्यो पक्ष थाहा रहेनछ । त्यसपछि उनले बीपी एक पात्र, भिजनरी भएको कुरा आफूले बढी बुझेको कुरा भने । निसिजावाले नेपारु नो रेक्सी अथवा नेपालको इतिहास भन्ने किताब लेखेका रहेछन् ।
अहिले नागरिकका अधिकारमाथि अनावश्यक चिन्ता राख्ने र बन्देजका कानुन बनाउन लागिपरेको सरकार र राजनीतिक दल कस्तो काल्पनिकीले काम गर्दैछन् भन्ने अनुत्तरित मोडमा पुगेको अवस्थामा हामी बीपीको सान्दर्भिकता बुझ्न सक्छौं । अदालतको बयानमा बीपीले लोकतन्त्रको आत्मा यो हो भनी आफ्नो प्रतिरक्षा गरेको कुरा आज अत्यन्त महत्त्वपूर्ण छ । उनले राजा महेन्द्रले २०१७ साल पुस १ गते ‘कू’ गरेको दिनलाई लिएर भने, ‘तर बडो व्यथित हृदयले उल्लेख गर्नुपर्छ कि त्यसदिन हजारौं निर्दोष नेपाली नागरिकहरू न केवल बन्दी बनाइए, तिनीहरूलाई आतङ्कको वातावरणमा कागज गराइयो । त्यसरी तिनीहरूलाई आत्महीन तुल्याइयो । नेपालको इतिहासमा जनताको सम्मानलाई समाप्त पार्ने या नागरिकहरूको तेजोवध गर्ने त्यत्रो ठूलो पैमानामा यस्तो कार्य पहिले कहिल्यै भएको थिएन ।’ (बीपी कोइरालाको अदालतको बयान, २०६९, पृष्ठ ७) । जनतालाई ‘आत्महीन तुल्याइयो’, ‘नागरिकहरूको तेजोवध’ गरियो भन्नेजस्ता अभिव्यक्ति आज अत्यन्त संवेदनशील भएर बुझ्नुपर्ने अवस्था छ । बीपीले कल्पना गरेको लोकतन्त्र नागरिकको शिर ठाडो राख्ने सिद्धान्तसँग गाँसिएको थियो । हामीले पनि ‘बडो व्यथित हृदयले उल्लेख गर्नुपर्छ’, त्यसपछि नेपालको इतिहासमा नागरिकको त्यही तेजोवध, त्यही आत्महीन तुल्याउने कर्म धेरै भए । अहिले लोकतान्त्रिक, गणतान्त्रिक संविधानले दिएका अधिकारको व्याख्या र प्रयोग गर्नेहरूले यो कुरा बुझेनन् भने जनता फेरि अर्को संकटमा पर्ने निश्चित छ । बीपीले आफ्नो अभियानबारे यसो भने ः
‘यो देशका जनताले लामो एकतन्त्री जहानियाँ शासनको अत्याचार भोगेको एक शताब्दी नाघेपछि, जनताका दमित विद्रोह, तिनका पीडा र हुकुमी शासनले तिनीहरूमाथि गरेका खेलवाड र उपहासको युग समाप्त गर्ने पुनित भावनाले प्रेरित भएर नै म २००७ सालको क्रान्तिमा लागेको हुँ ।’
अदालतको बयानमा उनले थपे, ‘सात सालको क्रान्तिबाट स्वतन्त्र भएका यो देशका नरनारीहरूलाई फेरि बन्धनमा पार्नेहरूले पनि साल सालको क्रान्तिकै हवाला दिएर झुक्याइरहेका छन् । म त्यो कुरा प्रस्ट पार्न चाहन्छु । अनि मेरो क्रान्तिको अर्थ बुझिनेछ ।’ बीपीले राजनीतिको सबभन्दा महत्त्वपूर्ण विषय जनता र तिनको प्रतिष्ठालाई माने । कार्ल मार्क्सले पनि त्यही भने । मार्क्सले उन्नाइसौं शताब्दीको मध्यतिर लेखेका दार्शनिक र आर्थिक लेखहरूमा एउटा नएक्लिएको श्रमिकको कल्पना गरे, जो एउटा सौन्दर्य चेतनाका नियमको आधारमा एक सामाजिक सिर्जनामा रमाउँछ र उन्नति गर्छ । मार्क्सले साधारण मानिसको शिर उच्च राख्ने र उसको परिश्रमलाई सौन्दर्यमूलक बनाउने कुरा मूलरूपमा लेखिबसे ।
त्यसदिन मेरो प्रस्तुतिको सार थियो, जनताको सम्मान गर्न चुकेको इतिहासलाई सच्याउनु तर भुल नदोहोर्‍याउनु आजका हाम्रा राजनीतिकर्मीको मन्त्र हुनुपर्छ ।

विविधा

पुस्तकमा नलेखिएको चरा पर्यटन

- कमल मादेन

प्रत्येक हिउँदमा २ दर्जनभन्दा बढी पानीहाँस आगन्तुक पन्क्षीका प्रजाति नेपाल आउँछन् । प्रत्येक वर्ष गरिने आगन्तुक पन्क्षी गणना अनुसार तिनीहरू कोशीटप्पु, मोरङको बर्जु ताल, कपिलवस्तुको जगदीशपुर ताल, कैलालीको घोडाघोडी ताल, काठमाडौंको टौदह लगायत सिमसार क्षेत्रमा विचरण गर्छन् । जाडो याममा हाम्रा सिमसार क्षेत्रमा मात्रै विचरण गर्न आउने सबैजसो आगन्तुक पन्क्षीहरू साइबेरियाका हुन् । युरोपको उत्तर र उत्तरपूर्व लगायत एसियाको उत्तरी भूभाग साइबेरिया हो । साइबेरियाको फैलावट युरोप र अष्ट्रेलिया महादेशको क्षेत्रफलभन्दा बढी छ ।
हिउँदमा साइबेरियाका धेरैजसो ताल, पोखरी, खोला जमेर बरफ बन्छ । त्यहाँको कतिपय ठाउँको तापमान माइनस ४५ डिग्री सेन्टिग्रेटसम्म पुग्ने भएकाले त्यस क्षेत्रका विशेषतः जलचर पन्क्षी बासस्थान र आहाराका निम्ति आवधिक रूपमा दक्षिणी गोलार्धतिर बसाइँ सर्छन् । पूर्वी साइबेरिया क्षेत्रका जलचर पन्क्षी भने दक्षिणपूर्व तथा दक्षिण एसिया लगायत अष्ट्रेलिया, न्युजिल्यान्डसम्म पुग्छन् । तिनीहरूमध्ये केही हाम्रा पहाड र तराईका सिमसार क्षेत्रमा आवधिक रूपमा विचरण गर्छन् । माथि उल्लिखित तालहरू आन्तरिक तथा बाह्य पर्यटकका लागि आगन्तुक पन्क्षीहरू अवलोकन गर्ने गन्तव्य हुन् । यो लेखमा साइबेरियाबाट आउने एक आगन्तुक चरा प्रजाति र पर्यटन प्रबर्द्धनबारे चर्चा गरिनेछ ।

मालार्ड डक
साइबेरियाबाट नेपाल आउने आगन्तुक पन्क्षीमध्ये मालार्ड डक एक हो । जीवविज्ञानमा यसको नामकरण एनस प्लेटिरिन्कोस भनी गरिएको छ । यो प्रजातिको पानीहाँस विशेषतः तलाउ प्रकृतिको सिमसार क्षेत्रमा विचरण गर्छ । यसले साना माछा, भ्यागुता, किरादेखि हरिया वनस्पतिसमेत खाने गर्छ । हुन त यो प्रजातिको पन्क्षी अमेरिकी महादेशमा पनि पाइन्छ । नेपालमा आउने मालार्ड भने साइबेरियाका हुन् ।
५०–६० सेन्टिमिटरसम्म लामो भाले मालार्डको टाउको बर्खामा बाहेक अन्य मौसममा हरियो हुन्छ । यसैले यसलाई हरियो टाउके हाँस पनि भनिन्छ । यसको घाँटीमा वरिपरि सेतो कण्ठ, छाती कटुस रंगको र पुच्छरको प्वाँख टाउकोतर्फ फर्किएको घुङरिङजस्तो देखिन्छ । पोथी फिक्का खैरो र मोटो गाढा बुट्टा भएको हुन्छ ।
भाले मालार्डले पोथीलाई संसर्ग कालभन्दा केही महिनाअघि नै छनोटगरी सँंगै विचरण गर्छ । सामान्यतः एउटा पोथीले एउटै भालेसँग संसर्ग गर्छे । पोथीको तुलनामा भालेको संख्या कम हुने भएकाले एक भालेले एकभन्दा बढी पोथीसँग संसर्ग गर्छ । यसले अन्य प्रजाति पोथी हाँसलाई पनि संसर्ग गर्न रुचाउँछ ।
यसको उडान क्षमता सबैभन्दा बढी प्रतिघन्टा ८८ किलोमिटरसम्म मापन गरिएको छ । नेपालबाट साइबेरियाको दक्षिण र उत्तरी सिमाना क्रमशः २५ र ४५ सय किलोमिटर हवाई दूरी टाढा छ । यस आधारमा मालार्ड डक साइबेरियाबाट नेपाल केही दिनमै आइपुग्न सक्छ । तर ठ्याक्कै कति दिनमा आइपुग्छ भन्ने अध्ययन भने भएको छैन ।

हाँस
घरपालुवा हाँसमध्ये सर्वत्र पालिने हाँस पनि मालार्डजस्तै देखिन्छ । घरपालुवा प्रजाति हाँसको पूर्वज मालार्ड नै हो भन्ने पुष्टि भइसकेको छ । चीनमा करिब ४ हजार वर्ष पहिलेबाट मालार्ड डक पाल्न सुरु गरिएको पाइन्छ । घरमा पालिएको हाँसले जंगली अवस्थामा भन्दा भिन्न वातावरण पायो । लामो दूरी उडान भर्न परेन । हिँडडुल गर्ने मात्रै अवस्था रह्यो । फलस्वरुप, जंगली हाँसभन्दा घरपालुवा हाँसको पखेटाको हाडको तौल तुलनात्मक रूपमा कम र खुट्टाका हाडको तौल बढी हुनथाल्यो । खानेकुरा जंगली अवस्थामा भन्दा बढी पाएकाले ओजन वृद्धि पनि हुने नै भयो । बचेरा कोरल्न खास स्थानमा पुग्नैपर्ने र बचेरालाई आहारा जुटाउन खास मौसम पर्खनैपर्ने भएन । बासस्थान लगायत आहारा नियमित र अन्य जनावरको सिकार हुने डर कम हुँदा यसको प्रजनन क्षमता वृद्धि भयो ।
जंगली हाँसले वर्षमा एकपटक फुल पार्छ भने घरपालुवाले निरन्तरजसो फुल पार्ने गर्छ । वैज्ञानिकहरूले मालार्डजस्तै देखिने घरपालुवा हाँसलाई मालार्डकै एक उपप्रजाति एनस प्लेटिरिन्कोस डोमेस्टिक्स मानेका छन् । यसर्थ घरपालुवा हाँसको पूर्वज मालार्ड डक हो भन्ने पुष्टि हुन्छ । चार्ल्स डार्विनले जातिहरूको उत्पत्ति (सन् १८५९) पुस्तकमा जंगली अवस्थामा रहेको जीवभन्दा तिनका घरपालुवा वंशजको रूप रंगमा बढी विविधता हुन्छ र यसो हुनुको कारण घरपालुवाको बासस्थान पूर्वजको भन्दा भिन्न, जलवायु र परिस्थितिहरू फरक भएकाले हो । यसैले
तिनमा परिवर्तित स्वरुप उत्पन्न हुन्छ भन्ने दृष्टान्त प्रस्तुत गरेका छन् ।
उनका अनुसार जीवको विकासमा प्राकृतिक छनोट निकै महत्त्वपूर्ण हुन्छ । प्रकृतिले छनोट गर्ने क्रममा हावापानी र वातावरण अनुकूल आफूलाई परिवर्तित गर्ने प्राणीको ज्यादा विकास हुने गर्छ भने अनुकूल हुन नसक्ने प्राणी लोप भएर जान्छन् । मालार्डलाई घरपालुवा बनाउँदा यसले नयाँ वातावरण अनुसार परिवर्तित गर्ने सक्षमता प्रकट गर्‍यो । अतः यसको विकास धेरै भयो । संसारभर यसलाई अनगिन्ती स्वरुपमा देखिन्छ ।

बचेरा कोरल्ने स्थान
आम रूपमा मालार्ड हिउँदमा जाडो छल्नमात्र साइबेरिया बाहिर जान्छ र गर्मीमा विचरण गर्न र बचेरा कोरल्न त्यहीं पुग्छ । यहाँका सदावहार चराले मात्र यतै बचेरा कोरल्छन् । मालार्डले अछामको रामारोशन गाउँपालिकास्थित रामारोशन ताल (भू–सतह उचाइ २,४२५ मिटर) मा बच्चा कोरल्ने गरेको छ । नेपालको नैनीताल भनिने रामारोशन क्षेत्रमा १२ वटा ताल र १८ वटा पाटन छन् । त्यसैले रामारोशनलाई १२ पन्ड १८ खण्ड पनि भनिन्छ । मुस्ताङको टिटी ताल (भू–सतह उचाइ २,६८० मिटर) मा मालार्डले बच्चा कोरल्दै आएको छ ।
चराविज्ञ डा. हेमसागर बरालका अनुसार रामारोशन र टिटी तालमा वर्षेनि करिब ५० जोडीजति मालार्डले बच्चा कोरल्दै आएका छन् । यसले करिब १ सयजति मालार्ड नेपालमा वर्षैभरि रहने गरेको बुझिन्छ । यस आधारमा नेपालमा देखिने सबै मालार्ड साइबेरियन होइनन् । हाम्रा तालहरूको उचित संरक्षण र व्यवस्थापन हुनसके साइबेरिया फर्कने पन्क्षीहरूमध्ये केही प्रजातिको उल्लेख्य संख्या यतै अडिन सक्छन । ती क्षेत्र चरा पर्यटनका निम्ति महत्त्वपूर्ण गन्तव्य बनाउन सक्नुपर्छ । टिटी र रामारोशन जस्ता अन्य कति तालहरू छन्, तिनीहरूको अध्ययन/अनुसन्धान गरी चरा पर्यटननिम्ति विकास गर्न जरुरी छ ।
घातक पुस्तक
नेपालका चराबारे निकैवटा पुस्तक लेखिएका छन् । तर अहिलेसम्म चरालाई पर्यटनसँग जोड्नसकेको पुस्तक एउटै छैन । चरा अवलोकन क्षेत्रलाई ‘टुरिष्ट फिल्ड गाइड’मा जोड्न सक्नुपर्छ । नेपालमा पाइएका झन्डै ९ सय प्रजाति चराहरू क–कहाँ छन् ? तिनीहरू अवलोकन गर्न कुन मौसममा कसरी जाने ? त्यहाँसम्म कसरी पुग्ने, दूरी कति छ ? अवलोकन गर्न समय कति लाग्छ, खर्च कति लाग्छ, बास बस्ने ठाउँ कस्ता छन् ? चरा अवलोकनका निम्ति गाइडहरूसँग कसरी सम्पर्क गर्ने भन्ने जानकारी समेटिएको चरा सम्बन्धी पुस्तक लेख्न जरुरी छ ।
नेपाल भ्रमण वर्ष २०२० सुरु भइसकेको छ । नेपाल भ्रमण गर्नेमध्ये कोही त चरा अवलोकन गर्न मनपराउने पनि होलान् । अहिलेसम्म चरा अध्ययन/अनुसन्धान गर्ने संघ/संस्था तथा चरा पर्यटन व्यवसायीले ‘अ फोटोग्राफिक फिल्ड गाइड टु द बर्डस् अफ नेपाल’ (सन् २०१७) पुस्तकमा ध्यान दिएको पाइँदैन । पुस्तक भारतका विक्रम ग्रेवाल, सुमित सेन, सरवान्डिप सिं, निखिल देवसर र गरिमा भट्टले लेखेका हुन् । ३५४ पृष्ठको पुस्तकमा ७५० प्रजाति चराका २ हजारभन्दा बढी रंगिन तस्बिर समावेश छन् ।
सम्भवतः हिजोआज नेपालको चरा सम्बन्धी लेखिएको सबैभन्दा बढी बिक्री हुने पुस्तक पनि यही हो । पुस्तकमा नेपालको संरक्षित क्षेत्र चरा अवलोकन गर्ने ठाउँ हुन् भन्ने सामान्य जानकारी प्रस्तुत गरिएको छ । तर पुस्तकमा प्रस्तुत ७५० प्रजाति चरा पाइने ठाउँचाहिँ सबैजसो भारत भन्ने लेखिएको छ । उल्लिखित पुस्तकमा मालार्ड डक हिउँदमा उत्तर र मध्य भारतका तालहरूमा पाइन्छ भन्ने लेखिएको छ । नेपालको नामसम्म उल्लेख गरिएको छैन । मालार्डको अत्यन्त थोरै संख्याले कश्मीरका तालहरूमा बचेरा कोरल्छन् भन्ने बताइएको छ । त्यो पुस्तक पढ्नेले मालार्ड र यसले बचेरा कोरलेको दृश्य हेर्न कश्मीर नै जानुपर्ने हुन्छ । यसैले नेपालको चरा पर्यटनको निम्ति ‘अ फोटोग्राफिक फिल्ड गाइड टुद बर्डस् अफ नेपाल’ घातक छ । यसमा पर्यटनसँग सम्बन्धित संघ/संस्था, चरा अध्ययन/अनुसन्धानकर्ता तथा पर्यटन बोर्डको ध्यानाकर्षण जरुरी छ ।

Page 7
विविधा

अष्ट्रेलियामा डढेलोको प्रभाव

- जुद्धबहादुर गुरुङ

 

सुख्खा तथा गर्मीयाममा अष्ट्रेलियाली वन क्षेत्रमा वर्षेनि डढेलो लागिरहन्छ । यसको व्यवस्थापनका लागि विगतमा झैं सरकारले यस वर्ष २ अर्ब अष्ट्रेलियाली डलर बजेटमा छुट्याएको छ । यस पटकको डढेलो विगतको भन्दा भिन्न रह्यो । यसको प्रमुख कारण जलवायु परिवर्तन हुनसक्ने अनुमान गर्न सकिन्छ । प्रशान्त महासागरको पश्चिमी किनारमा रहेको अष्ट्रेलियाको पूर्वी क्षेत्र खासगरी न्यु साउथ वेल्स र भिक्टोरिया राज्यहरूमा तीव्र गतिमा हावा चल्ने गर्छ । साथै यो क्षेत्र दक्षिण गोलार्धमा पर्ने भएकाले सूर्य दक्षिणायान भई नोभेम्बर र डिसेम्बरमा बढी गर्मी हुने गर्छ । गत डिसेम्बर १७ मा तापक्रम औसतभन्दा १ डिग्री सेल्सियस बढेर ४१.९ डिग्री सेल्सियस पुगेको थियो ।
चट्टानी तथा मरुभूमि क्षेत्र बढी भएकाले अष्ट्रेलियामा सुख्खा तथा गर्मी भइरहन्छ । यस बाहेक अष्ट्रेलिया हरितगृह ग्यास खासगरी कार्बनडाइ अक्साइड बढी उत्सर्जन गर्ने देशमा पर्छ, वार्षिक रूपमा विश्व हरितगृह उत्सर्जनको १३ प्रतिशत । यिनै परिवेशले वातावरण तताउन सहयोग गर्छन् । जलवायु परिवर्तनका कारण जमिन सुख्खा भई वनका रुख, बुट्यान, घांँस, झारपात सुकेर झुरिला हुन्छन् । यसमा सामान्य मानवीय गतिविधिले उत्पन्न आगोको सानो झिल्को डढेलोमा परिणत हुनसक्छ । गत सेप्टेम्बरबाट त्यहाँको वनमा आगो सल्कियो । लगभग १०० भन्दा बढी स्थानमा आगलागी भएको थियो । समयमै निभाउन सकिएन र झन् वन डढेलोको प्रभाव बढ्दै गयो । नोभेम्बर ८ मा सरकारले राष्ट्रिय आपत्काल घोषणा गर्‍यो । सरकारले नागरिकहरूलाई सुरक्षित स्थानमा जान आह्वान गर्‍यो । यो डढेलो अष्ट्रेलियाको इतिहासमा अहिलेसम्मकै खतरनाक मानिएको छ ।
पूर्वी सामुद्रिक तटीय क्षेत्रका प्रमुख सहरहरू सिड्नी, मेलबर्न र क्यानबेरा क्षेत्रको वन, बुट्यान वा झाडीमा लागेको आगो वा वन डढेलोबाट त्यहाँका मानिस त्रसित छन् । वनक्षेत्र वा झाडीबाट हावाको झोँक्कासँगै आगोको लप्का वा ज्वालाहरू मानव बस्तीतर्फ तीव्र गतिमा बढिरहेको छ । आगोका लप्काहरूलाई प्रशान्त महासागरबाट उत्पन्न हावाले झन् ऊर्जा दिएको छ । आगोको लप्काहरू सामान्य मानिसको गतिभन्दा केही बढी ११ किलोमिटर प्रतिघन्टाका दरले बढेको छ । यो दर घाँंसे मैदानको क्षेत्रमा लगभग २२ किमि प्रतिघन्टाका दरले बढ््छ । सन् २०२० जनवरी ८ सम्म डढेलोले लगभग १ लाख ७ हजार वर्गकिलोमिटर क्षेत्रफल फैलिएको छ । यस क्षेत्रका ५,९०० भवन नष्ट भएका छन्, २८ जना मानिसले ज्यान गुमाइसकेका छन् । ५० करोड वन्यजन्तु आगोले डढेर मरिसकेको समाचार छ । बोलीचालीमा ‘वुस फाएर’ अर्थात् झाडी/वन डढेलो भनिने यो आगलागी क्रमशः मानव बस्तीतर्फ बढिरहेको छ । आगो निभाउन न्युजिल्यान्डले समेत अग्नि नियन्त्रक दस्ता पठाएको छ । भर्खरैको भारी वर्षाले डढेलोको गति वा आगो नियन्त्रणमा केही राहत पुगेको छ ।
आगोबाट निस्केको धुवाँको मुस्लोले वायुमण्डल पूरै ढाकेको छ । निलो आकाशको रङ बदलिएर रातो भएको छ । खरानीको धुलो र धुवाँले वायुमण्डल छेकेर आधा किलोमिटरभन्दा टाढाको दृश्य देखिँदैन । विमान उडानमा बाधा पुगेको छ । स्थानीय वायुको गुणस्तरमा ह्रास आएको छ । मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । यस किसिमको प्रदूषित वायुमा लामो समयसम्म रहँदा समाजमा दीर्घरोग बढ्न सक्छ । गतसाल तास्मानिया राज्य सरकारले डढेलोका कारण मानव स्वास्थ्यमा देख परेको समस्या समाधानका लागि २५ मिलियन अष्ट्रेलियन डलर छुट्याएको थियो । यस वर्षको डढेलो विगतको भन्दा बढी तेजिलो र लामो समयसम्म लागेको छ । अझ वन डढेलो क्षेत्रमा तापक्रम वृद्धि हुन्छ र स्थानीय वायुमण्डलमा थप नकारात्मक प्रभाव पर्छ ।
वनक्षेत्र एक किसिमको प्राकृतिक रूपमा सञ्चालित पारिस्थितिक प्रणाली हो । अष्ट्रेलियाको वन कोला, कङ्गारुजस्ता दुर्लभ प्रजातिका स्तनधारी, किवीजस्ता पन्छी लगायत अनेकौं प्रजातिका सरिसर्प वा गोही, उभयचर, माछा र अन्य जलीय प्रजातिको प्रमुख वासस्थान हो । यी प्रजातिहरू विश्वमा अनौठा र आकर्षक वन्यजन्तु हुन् । तर डढेलोले लगभग ५० करोड जीवजन्तु नष्ट भएकाले तिनको वंशाणु मासिन पुगेको छ । घाइतेको त लेखाजोखा नै छैन । यी प्रजातिको वासस्थान समेत नष्ट भएको छ । यिनको अस्तित्व नै संकटमा परेकाले दीर्घकालीन वातावरणीय समस्या निम्तिन सक्छ । डढेलोले यस क्षेत्रको जैविक पारिस्थितिक प्रणालीलाई नै परिवर्तन गरिदिएको छ ।
आगोले खाएको वन क्षेत्रमा पारिस्थितिक प्रणाली ध्वस्त भई नयांँ पारिस्थितिक प्रणाली सिर्जना भएको हुन्छ । डढेलोको तापक्रमले वरपरको वनस्पति लगायत सजीवहरू नष्ट भएको छ । वायुमण्डल प्रदूषित भई सजीवहरूको लागि आवश्यक अक्सिजनको उपलब्धतामा समेत प्रभाव पर्छ । डढेलोले खाएको जमिनको सतह वा भुइँमा खरानीले नयांँ वनस्पतिको लागि पोषणको भूमिका खेले पनि यो वर्षाको पानीसित घुलिन्छ । वर्षाले सतहको पानीको प्राकृतिक शुद्धतामा पनि प्रदूषित पारिदिन्छ । पानी धमिलिने मात्र नभई अम्लियपन बढी हुन्छ । जसले पानीको तथस्टताको गुण गुमाउँछ र परिणामस्वरुप पानीको पीएच असन्तुलित भई जलिया सजीवहरू फटाफट मर्न थाल्छन् । खासगरी माछा प्रजातिका सजीवलाई बढी असर पर्छ । यस डढेलोले जल, जमिन र वायुमण्डलमा परेको प्रभाव आजै आँकलन गर्न हतारो हुन्छ ।
यसरी डढेलोले अष्ट्रेलियाको आर्थिक विकासको भौतिक पाटोमा ठूलो प्रभाव पारेको छ । प्रभावित समाजका वासिन्दामा नियमित काममा जान मनमा त्रास र भय सिर्जना हुन्छ । त्यसले उत्पादनमा ह्रास आउँछ । डढेलोले मानव निर्मित भवन, सडक, सवारीका साधन, भौतिक संरचनाहरूलाई नष्ट पुर्‍याएको छ । पर्यटनमा पनि प्रत्यक्ष असर परेको छ । सरकारले डढेलोलाई प्राकृतिक प्रकोपका रूपमा घोषणा गरेपछि ४,३०० जनाले २९७ मिलियन अष्ट्रेलियन डलरको बिमा दाबी गरेका छन् । यसरी, विश्व समुदायकै ध्यान तानेको डढेलोले समाजका सबै पक्षमा
प्रभाव पारेको छ ।

विविधा

कुरा सुन्नु बूढाको

- ज्ञानमणि नेपाल

हाम्रो देशमा ज्येष्ठ नागरिक भन्ने शब्दको प्रयोग हुनथालेको पच्चीस वर्षजति भयो । त्यसबेलाका प्रधानमन्त्री मनमोहन अधिकारीले ज्येष्ठ नागरिकलाई सम्मान दिनुपर्छ भनेर एक सय रूपैयाँ मासिक दिन थालेका थिए । अहिले यो मासिक भत्ता एक सयबाट बढ्दै पाँच सय, हजार हुँदै तीन हजार रू. पुगेको छ । ज्येष्ठ नागरिक शब्दको अहिले चलेको अर्थ परिभाषा अलिक असहज लाग्दो छ । यस शब्दको पूर्ववृत्त यस प्रकारको छ । अघि प्राचीन कालमा युरोपमा विशेष गरेर रोममा नगरराज्य थिए । नगर राज्यका बासिन्दा ‘सिटिजन’ कहिन्थे । त्यसै शब्दको अनुवादको रूपमा भारत र नेपालमा पनि नागरिक शब्दको प्रयोग ल्याइयो । देशभरका स्त्री–पुरुष १८ वर्ष पुगेपछि नागरिकता लिएपछि भोट दिन पाउँछन् । राज्यले दिएका अरू अधिकार पनि उपभोग गर्न पाउँछन् । ‘सिटिजन’ को र ‘सिटिजनसिप’ को संस्कृतीकरण गर्दा नागरिक र नागरिकता बनाइयो र सो प्रयोग प्रचलनमा ल्याइयो । परन्तु संस्कृत व्याकरण अनुसार नागरिकको अर्थ अर्कै हुन्छ ।
प्राचीन आचार्य विष्णुगुप्त कौटल्य (चाणक्य) ले आफ्नो अर्थशास्त्रमा देशका वासिन्दालाई जनपद शब्द प्रयोग गरेका छन् । अर्को कुरा, ज्येष्ठ शब्द विशेषण लाएर प्रयोग गर्दा पनि कोभन्दा को जेठो भन्ने तर्क उठ्छ । ज्येष्ठ विशेषण सापेक्षित हो । जेठो, माइलो, साइलो, कान्छो भन्दा सुहाउँछ । सम्मानका लागि ज्येष्ठ जोडेर पनि आखिर वृद्धभत्ता त भन्नै पर्‍यो । तसर्थ वृद्धजन सम्मान वा वृद्धजन भत्ता भन्दा नै उचित होला । बुद्ध भगवान्ले आफ्ना गाउँ–सहरका वृद्धजनलाई महल्लक भनेर सम्बोधन गरेका छन् । धर्मशास्त्रकारले पनि उमेर खाएका वयोवृद्धहरू र विद्या पढेका युवा नै भए पनि ज्ञानवृद्धको रूपमा तिनलाई सम्मान गर्नुपर्छ, राज्यले वयोवृद्ध, ज्ञानवृद्धहरूका कुरा सुन्नुपर्छ भनेका छन् । हाम्रो देशले सत्तरी वर्ष उमेर पुगेका वृद्धजनलाई वृद्धवृत्तिले सम्मानित गर्दै आएको छ । यस उमेरलाई अझ पाँच वर्ष घटाएर पैँसठ्ठी वर्ष पुगेपछि नै वृद्धजन वृत्ति दिएर सम्मान दिनुपर्छ भन्ने आवाज पनि उठ्न लागेको छ । अघि–अघि कति उमेरदेखि वृद्धत्व हुने बुढ्यौली लाग्ने परम्परा थियो त भन्ने कुरा पनि हेरौँ । साठी वर्ष पुगेपछि बुढ्यौली लाग्ने कुरा भागवतको माहात्म्यमा ‘गतषष्ठिवर्ष’ भनेर उल्लेख छ । सप्तशती चण्डीको दुर्गास्तुतिमा पचासी वर्षको उमेरलाई परिपक्व वृद्धत्व हुने भनिएको छ— ‘मया पञ्चाशीते बयसी’ ।
हाम्रो वैदिक धर्म परम्परा अनुसार सय वर्षको मनुष्य जीवनलाई चार आश्रममा विभक्त गरिएको छ । पहिलो पच्चीस वर्षको उमेर गरुकुल विद्यालय गएर विद्या अध्ययन गरेर ज्ञानविज्ञानमा पारङ्गत भएर स्नातक भएपछि विवाह गरेर गृहस्थ आश्रममा रहने । अनि छोरालाई गृहस्थ आश्रम सुम्पेर ५० वर्षपछि शिक्षा–उपदेश दिंँदै वानप्रस्थ आश्रममा रहने । ७५ वर्षको उमेरमा संन्यास लिने र सबै कुरा छाडेर आत्माराम हुने । यति कुराबाट के बुझिन्छ भने साठी वर्षसम्मको उमेर शारीरिक कर्म गर्ने जीवनको अनुभव बटुल्ने त्यसपछि आफूले जानेका–बुझेका, अनुभव गरेका सत्कर्म सदाचारका उपदेश दिँदै अध्ययन–अध्यापन गर्दै सय वर्षसम्म आन्तरिक
आत्मालाई सक्रिय राखिरहने । कुर्वन्नेव हि कर्माणि जिजीविषेत् शतम् समा ः ।
एउटा इतिहासको प्रसंग छ, वृद्धकै प्रसंगमा । पृथ्वीनारायण शाह विसं १७७९ मा जन्मे, १८३१ म बाउन्न वर्षकोमा मृत्यु शैय्यामा हुँदा उनले आफूले गरेका, जानेका, सुनेका, अनुभव गरेका कुरा भाइभारदारलाई उपदेश दिनथाले । त्यसमा ‘बूढा मरे, भाषा सरे’ भनेका थिए । ‘मैले भनेका कुरा तिमीहरूले आफ्ना सन्तानलाई सुनाउला, तिम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउलान् र यो राज्यलाई थामी खानन्’ भनेका थिए । उमेरमा उनी बाउन्न वर्षकै थिए, आफ्नो जीवनका अनुभवले त उनी ज्ञान–वृद्धै थिए नै, यो उपदेश भारदारका र मेरा सन्तानमा सर्दै–सर्दै जानेछ र राज्य सञ्चालनको काँढी बुझ्नेछन्, यो राज्य थामी खानेछन् भनेका थिए । उनी बितेपछि उनका उत्तराधिकारी योग्य भएनन् । तापनि नायव बहादुर शाह र तिनै साधिएका भारदाररूले राज्य बढाएर एकीकरण गरेर पूरा पारे, पृथ्वीनारायण शाह बितेको ३० वर्षपछि । तर ती साधिएका अनेकौं भारदार मासिइहाले, उनका सन्तानले राज्य सञ्चालन गर्ने काँढी नै बुझेनछन् । उनका हातबाट राज्य सञ्चालनै भएन । उनको उपदेश लेखेर अरूले राखिदिएकाले पढ्न त पाएका छौँ, तर अहिलेका शासकहरू आफै–आफ छन् । पृथ्वीनारायणभन्दा कता हो कता जान्ने स्वयम्भू छन् । उनले गरेका, भोगेका, अनुभवले राज्य सञ्चालन गर्ने तत्त्व बुझ्नै चाहँदैनन् । बुझेको भए यस्तो अन्याय, अत्याचार, दण्डविहीनता फैलिने नै थिएन ।
वृद्धतम वर्षीयान्कै प्रसङ्गमा मैले पृथ्वीनारायण शाहको यो वृद्धोत्तम् कोट्याएको हुँ, अब एउटा लोकोक्तिको प्रसङ्ग पनि उल्लेख गर्न चाहन्छु । ‘जब पुग्यो साठी हातमा लाठी,
जब पुग्यो सत्तरी खुट्टा लागे लत्तरी, जब पुग्यो असी
थचक्कै बसी, जब पुग्यो नब्बे हब्बे न कब्बे, जब पुग्यो सय सबै दिन गए ।’
भगवान् बुद्धको उक्ति उद्धृत गरेर वृद्धतम पुरुषको सत्कार, सम्मान कसरी गर्नुपर्छ, किन गर्नुपर्छ भन्ने एउटा प्रसङ्ग छ । यो अढाई हजार वर्षभन्दा पहिलेको सिद्धार्थ गौतम बुद्धका पालाको प्रसङ्ग हो । त्यसबेला गंगा उत्तरतर्फ तराई पहाडसम्म ब्रजिक लिच्छविका आठ गणराज्य थिए । ती आपसमा मिलेर बसेका थिए, वैरीको आक्रमण भयो भने ती सबै एकजुट भएर जाइलाग्थे । त्यसबेला गङ्गा नदीमा ठूलठूला जहाजहरू नै यातायातका र मालसामान ओसार–पसारका साधन थिए । घाटमा– बन्दरगाहमा सामान लाध्दा, ओराल्दा लाग्ने भन्सार दस्तुर लिच्छविहरू नै लैजान्थे र गङ्गापारि आजात शत्रु भन्ने राजाको एकतन्त्री शासन थियो । उनीले कहिल्यै भन्सार महसुल लिन पाउँदैनथे । सधैँ आजात शत्रु राजाका सिपाही हारेर खाली हात फर्कन्थे ।
एकदिन राजाले विश्वासिला मन्त्री वर्षकार ब्राह्मणलाई लिच्छविहरू किन यसरी बलिया भएका रहेछन् ? बुद्ध भगवान्सँग सोधेर, बुझेर आऊ भनेर मन्त्रीलाई पठाएछन् । वर्षकार ब्राह्मण मन्त्रीले भगवान् बसेको विहारमा गएर लिच्छविहरू किन यसरी बलिया भएका रहेछन् भनेर सोधे ।
भगवान् बुद्धले आठगण राज्य मिलेकाले धेरै छन् लिच्छविहरू, यिनीहरू बलिया हुने यी सात कारणहरू भनेर सुनाएका थिए, तिनमा मुख्य यी हुन्– (१) जबसम्म लिच्छविहरू महिलाहरूमाथि अत्याचार, अनाचार गर्दैनन्, सत्कार, सम्मान पूजा गर्छन्, तबसम्म यी बलिया भइरहन्छन् । (२) जबसम्म यी लिच्छविहरू गाउँ–सहरका महल्लक– वृद्धतम वर्षीयान् जनहरूलाई हेला गर्दैनन्, सम्मान गर्छन्, सत्कार गर्छन्, पूजा गर्छन्, तबसम्म यी बलिया भइरहन्छन् । (३) जबसम्म यी लिच्छविहरू आपसमा मिलिरहन्छन्, कलझगडा गर्दैनन्, एकत्व भएर मिलेर बस्छन्, आपसमा फुट्दैनन्, मिलेर काम गर्छन्, मिलेर भोग गर्छन्, तबसम्म यी बलिया नै भइरहन्छन् । आदि–आदि । बुद्धका यस्ता ७ उपदेश अहिलेसम्म नै गणतान्त्रिक शासकका लागि आवश्यक उपयोगी पनि छन्, मननीय पनि ।
अहिलेसम्म विशेषतः बौद्धमार्गी नेवार वर्गमा वृद्धतम–महल्लकको सम्मान गर्ने परम्परा चलिआइरहेको छ । यिनमा सतहत्तर वर्षलाई वृद्धतम उमेर मानेको देखिन्छ । चौरासी वर्ष पुगेकालाई ‘सहस्र चन्द्रदर्शन’ गर्ने भनेर सम्मान, सत्कार, कदर पूजा गर्दै रथमा चढाएर नगर परिक्रमा गराइन्छ । बुद्धकालदेखि चलिआएको यस प्रथालाई नेपालले अहिलेसम्म कायम गरिआएको छ । अहिले त यो चौरासी गर्ने विधि अरू नेपालीमा पनि चल्नलागेको छ ।
देशमा वृद्धतम जनलाई तथा महिला वर्गलाई सम्मान, सत्कार गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएरै भर्खरै नेपाल सरकारद्वारा वृद्धभत्ताको व्यवस्था गरिएको छ । महिला वर्गलाई सम्मान, सत्कार गर्नुपर्छ, तिनमा अनादर, अत्याचार गर्नुहुन्न भन्ने भावना आइरहेछ । ‘यत्र नार्यस्तु पूज्यनते रमन्ते तत्र देवाताः’ भन्ने मनुको सदुक्ति तथा ‘मुढाको आगो ताप्नु बूढाको कुरा सुन्नु’ भन्ने लोकोक्ति पनि छ । यस्तै परदेश जाँदा बूढा मान्छेलाई खिस्सामा हालेर लानुपर्छ । अर्थात् बोकेरै भए पनि लानुपर्छ । त्यसबाट परदेश जाँदा सहयोग पुग्छ भन्ने भाव हो ।
घरगाउँमा बहुतै चलेको बूढाको महिमा दर्शाउने उक्ति पनि यहाँ सान्दर्भिक छ । जन्तीलाई घर गाउँलेले अड्को
थाप्दै सोध्छन्—
कति आयौ बूढापाका, कति आयौ फुच्चा,
कति बाट्यौ नाम्ला–दाम्ला, कति बाट्यौ कुचा
जन्तीले उत्तर दिँदै यस्तो भन्छन्–
धेरै आयौँ बूढापाका, थोरै आयौँ फुच्चा
धेरै बाट्यौँ नाम्ला–दाम्ला, थोरै बाट्यौँ कुचा
यो सवाल–जवाफ बडो मार्मिक छ । घरगाउँलेले हाम्री छोरीले घरमा दुःख पाउँछे कि सुख पाउँछे भनेर सोध्छन् । गाउँमा बूढा धेरै भए भने उनीहरूले मेलमिलाप राख्छन् र कलझगडा हुन पाउँदैन । युवा धेरै रहेछन् भने कलझगडा बढी हुन्छ, त्यस अर्थले सोध्दा धेरै बूढा आएका छन्, थोरै फुच्चा आएका छन्, घरमा धेरै वस्तुभाउ गोठ हुँदा दाम्ला धेरै चाहिने हुँदा दाम्ला धेरै बाट्नुपर्‍यो । काम गर्ने खरखेताला धेरै हुँदा काम गर्ने मान्छेका लागि नाम्ला धेरै चाहिने भएकाले नाम्ला धेरै बाटियो । काम गर्ने मान्छे धेरै हुँदा, तपाईकी छोरीले सुख पाउँछे भन्ने जन्तीको भाव हो । यस सवाल–जवाफमा पनि बूढापाकाकै महिमा गाइएको छ ।

विविधा

म किन नबोल्ने ?

- सविता विमली

२०५० भदौको कुनै दिन । विद्यालयमा हामी केही थान विद्यार्थीमात्र उपस्थित भयौं । शिक्षक पनि कोही थिएनन् । फर्किंदा बाटोमा पर्ने घरहरूमा पनि ढोका लागेका थिए । सिंगो गाउँ चकमन्न थियो । गाउँबाट मानिस गए कहाँ ?
ती सबै मानिस नजिकैको गौरादह बहुमुखी क्याम्पसको प्रांगणमा पुगेका रहेछन् । तत्कालीन एमालेका महासचिव मदन भण्डारीको मृत्युपछि उनकी पत्नी विद्यादेवी भण्डारी पहिलोपटक आएकी रहिछन् । मेरो गाउँबाट एक्कासी मानिस हराउनुको कारण यही रहेछ । ‘स्वर्गीय भण्डारीको हत्यारा तत्कालीन सरकार नै भएको, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला यस हत्याकाण्डको नाइके भएको’ जस्ता ‘खबर’ कानसम्म आइपुगे । यी चर्चा सेलाउन वर्षौं लाग्यो, हामीले थुप्रै कथा–उपकथा सुनिरह्यौं । भण्डारीको हत्यारा पत्ता लाग्ने दिनको प्रतीक्षा मेरो कलिलो मनमस्तिष्कले लामो कालखण्डसम्म गरिरह्यो । खैर ! कसैलाई चासो नरहेको यस्तो प्रतीक्षा मैमात्र किन गरिरहुँ ? मैले पनि भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लागेको समाचार सुन्ने दिनको प्रतीक्षा गर्न छाडिदिएँ ।
श्रीमती भण्डारीको यो आगमनले मलाई पहिलोपटक के सिकायो भने, बोल्न त पाइँदो रहेछ ! सिंगो सत्तालाई खबरदारी गरेको उक्त सभाका भाषणका तरंगले मेरो गाउँ लामो समयसम्म गर्माइरह्यो ।
२०५६ को आमनिर्वाचनका समयमा विद्यालयबाट फर्किरहेका हामीलाई तत्कालीन मालेका उम्मेदवार देवी ओझाको भाषण सुन्न लगियो । ओझालाई सुनिसकेपछि त म उनको ‘फ्यान’ नै भइगएँ । महाकाली सन्धिमा भएका राष्ट्रघातका फेहरिस्त सुनाएर उनले मोहनी नै लगाइदिए । एक भारी उनका तस्बिर अंकित पर्चा बोकेर ल्याएँ र घरभरि टाँस्ने काम गरेंँ । भित्ताभरि पर्चा टाँसेको देखेपछि बुबाले कसको काम भनेर खोज्नुभयो । म हाजिर भएँ । बुबालाई मेरो काम मनपरेन । मैले आफूलाई मनपरेका उम्मेदवारको सरनी गरेंँ । उनले गरेका कुरा सुनाएँ र पर्चा टाँस्नुको औचित्य पुष्टि गरेँ । बुबाले अपनाएको राजनीतिक धारभन्दा फरक धारको वकालतमा पहिलोपटक कोही देखियो, जुन सामान्यतः अपेक्षित थिएन । स्कुले शिक्षा नसकेकी, बालिग पनि नभएकी कान्छी छोरीसँग बुबा त्यसपछिका तीन दिन बोल्नुभएन ।
लगत्तैको उपनिर्वाचनमा स्कुले लुगामै चुनावी सभामा पुगेंँ । नेपाल विद्यार्थी संघका नेता विश्वप्रकाश शर्माले बडो तातो भाषण गरे— २०४८ सालको लालकिल्ला २०५१ मा दुलो पार्‍यौं । २०५६ मा आधा भाँच्यौं । अब अझै लालकिल्ला भत्किँदै जानेछन् ...। अहो ! कत्रो तेज बोलीमा । सानो काँटको उक्त मानिसले बोलेरै आगो बालिदियो ।
वाह ! कसैलाई गाली नगरी पनि बोल्न सकिने रहेछ
भन्ने लाग्यो ।
तत्कालीन झापा क्षेत्र नं. ६ हाल ५ नं. का चिर जनप्रतिनिधि मेरो देशका वर्तमान कार्यकारी प्रमुख
खड्गप्रसाद ओलीको त के कुरा गरौं ! उनका बोली, भाषण, आलोचना र व्यंग्यका सम्झना मेरो क्षेत्रका कुनचाहिँ बासिन्दाले नगर्ला ?
निर्वाध रूपमा आलोचना गरेको देखेर/सुनेर हुर्किएकी मैले कहिलेदेखि बोल्न थालेंँ, यकिन थाहा छैन । जे होस्, मैले बोल्न सुरु गरेंँ । कक्षा आठमा जिल्लास्तरीय परीक्षाको शुल्क अघिल्लो सालको भन्दा बढेर आयो । प्रधानाध्यापकको झ्यालमा उभिएर मैले प्रश्न गरेंँ । अतिरिक्त क्रियाकलापका खेलकुदका सामग्री छात्राहरूका लागि थिएनन् । विद्यालयले छात्राहरूका लागि भाग नलगाएको र छात्रहरूले एकलौटी बनाएका खेलकुद सामग्रीमाथि छात्राहरूको हक दाबी गरेंँ । हातमा परेको भकुन्डो खेल्न कोही छात्रा साथी आइदिएनन् । म एक्लै परेंँ ।
मीना सञ्चार अभियान विद्यालयसम्म आइपुग्यो । कथा सुन्ने–सुनाउने काम भयो । यस अभियानमा के कति रकम आयो, थाहा थिएन । यसका संयोजक शिक्षकले केही रकम उब्रिएको र उक्त रकम शिक्षक र मीना सञ्चार अभियानका कार्यसमितिका सदस्य विद्यार्थीलाई बाँड्न चाहेको कुरा गरे । यसरी आपसमै पैसा बाँड्न नहुने बरु नजिकैको बजारमा खाली खुट्टा हिँंड्ने बालबालिकाका लागि चप्पल किनिदिउँ भनेर बोलेंँ ।
यसरी बोल्नुपर्छ भन्ने सिकाउने मेरो थातथलो कम्युनिस्ट बहुल क्षेत्र हो । मेरा जनप्रतिनिधि हाल मेरो देशका प्रधानमन्त्री भएको समय हो यो । सिंगो सत्तालाई संगीन आरोप लगाउन र आलोचना गर्न सक्ने व्यक्ति राष्ट्रपतिका रूपमा पाएको यो समयले भन्दैछ कि अब तँ नबोल् । नहेर् । नसुन् । दस वर्षको सशस्त्र द्वन्द्वको चपेटामा परेको मेरो पुस्ता चुपचाप रहन जन्मिएको हो त ?
अहँ होइन । हुँदै होइन ।
मेरो देशको सत्ता बोल्नैपर्ने काम गर्छ र नबोल भन्छ । ऊ गर्नैपर्ने काम गर्दैन र नबोल भन्छ । ऊ जे गर्दा शान्ति बिथोलिन्छ, त्यही गर्छ र नबोल भन्छ । ऊ जे गर्दा विवाद सुल्झन्छ, त्यही गर्दैन र नबोल भन्छ । मेरो देशको सत्ता स्वयम् जनतालाई बोल्ने खजाना दिइरहन्छ र नबोल भन्छ ।
जब सत्ता स्वार्थहरूको पूर्तिमा मात्र लिप्त हुन्छ, म
किन नबोल्ने ?
देशमा काम होइन, काण्डैकाण्ड मात्र भइरहेछन् । धमिजा, लाउडा, लडाकुका रासन, चिनियाँ व्यापारीसँगको फोन, सुडान घोटाला, वाइड बडी, सुन तस्करी, बालुवाटार, यति–गोकर्ण, एनसेल कर छली, आईजीपी, प्रधानन्यायाधीशलाई महाअभियोग, छोरी निर्वाचन, बुहारी थमौती...। काण्डैकाण्डको सहर... काण्डैकाण्डको देश । सत्ता स्वयम् काण्डमा लिप्त छ र जनतालाई नबोल भन्छ ।
र यी काण्ड अहिले गाउँ पनि पुगेका छन् । वडामा पुगेका छन् । कागजमै मात्र काम गरिरहेको छ कि साँच्चै काम भएको छ भन्ने हेर्ने कसले ? वडाध्यक्षभन्दा माथिको निकाय कति स्वच्छ छ ? संघीय नेपालको संघको कार्यपालिका तथा सिंगो संसद नै निश्चित व्यक्ति तथा समूहको स्वार्थ पूरा गर्न लागेको छ । कानुन बनाएरै स्वार्थ समूहका स्वार्थ पूरा गर्न भ्याइ–नभ्याइ छ र यसमा खबरदारी गर्नेलाई पाँच वर्ष थुन्ने र १५ लाख जरिवाना गर्ने कानुन बन्नलागेको अवस्था छ ।
र मेरा लागि सर्वाधिक दुर्भाग्यको कुराचाहिँ मेरो जनप्रतिनिधिको नेतृत्वमा यी सबै भइरहेका छन् । जसले बोलेको देखेरै मैले बोल्न सिकेंँ, उनैले मेरो अभिव्यक्तिलाई कोर्रा लगाउँछु भनिरहेछन् । र यो कुनै पनि मूल्यमा स्वीकार्य हुने छैन ।
चुनावमा गरेको सहयोग विधेयकका कतै दफा हटाएर, कतै थपेर फिर्ता गरिँदैछ । कसैका घरमा बसेबापत ठेक्का मिलाइएको छ । कसैले दिएको सापटी (?) तिर्न सिंगो संस्थाको संरचना ध्वस्त पारिँदैछ । छोरीलाई जिताउन राष्ट्रको कानुन पाइतालामुनि राखिएको छ । बुहारीलाई थमौती गर्न कार्यक्षमतामाथि आँखा चिम्लिइएको छ । र मेरो देशको सत्ता मलाई नबोल भन्छ ।
म किन नबोल्ने ?
आलंकारिक पद राजनीतिक नियुक्तिमा भाग खोज्छ ! पार्टीको बैठकबाट नेता झिकाउँछ र बहस गर्छ । ३३ होइन ५० प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउँछौं भन्ने पार्टीको सरकारमा दुईजना मन्त्री महिला छन् । ४४५ सदस्यीय केन्द्रीय समितिको १७ प्रतिशत, स्थायी समितिमा दुईजना, सचिवालयमा शून्य सहभागिता छ ।
सरकारी जमिनमा आफ्नो नाम लेखाएकाहरू निर्धक्क राजनीति गरिरहेछन् । आफ्नै इतिहासका कारण प्रतिपक्ष चुपचाप खुम्चिएको छ । यस्तो अवस्थामा बोल्ने को हो ? म किन नबोल्ने ?

Page 8
स्वास्थ्य

कसरी स्वस्थ राख्ने मिर्गौला ?

नेपालमा दीर्घकालीन मिर्गौला रोगको सिकार भएका करिब ८० प्रतिशत मानिस अन्तिम अर्थात् चौथो वा पाँचौं अवस्थामा मात्र चिकित्सककहाँ पुग्ने गरेका छन्
- अतुल मिश्र

(काठमाडौ) - मिर्गौलासम्बन्धी दीर्घकालन समस्या भएका धेरैजसो बिरामी चौथो वा पाँचौं अवस्थापछि मात्र चिकित्सककहाँ पुग्ने गरेका छन् । मिर्गौला बिग्रिसकेको अवस्थालाई दीर्घकालीन मिर्गौला रोग भन्ने गरिन्छ ।
मिर्गौलाले मानिसको शरीरमा रहेको फोहोर र अतिरिक्त तरल पदार्थबाट पिसाबका रूपमा हटाउने गर्छ । मिर्गौलासम्बन्धी रोगका पाँच वटा अवस्था हुन्छन् । यस अवस्थाको आकलन चिकित्सकले मिर्गौलामा भएको क्षति र ग्लोमेरुलर फिल्टरेसन रेट (जीएफआर) को सफा गर्ने दरमा आधारित भएर पहिचान गरिएको हुन्छ । रगतलाई छान्ने मिर्गौलामा भएको विशेष प्रकारको कोशिकाको गुच्छा (समूह) ग्लोमेरुल हो ।
प्रयोगशाला प्रतिवेदन उल्लेख गरिएको जीएफआरको संख्याले मिर्गौला कतिसम्म खराब छ भन्ने स्थिति दर्साउँछ । दीर्घकालीन मिर्गौला रोगको जति विकास हुँदै जान्छ, त्यति नै जीएफआरको संख्यामा कमी आउँदै जान्छ ।
यसअन्तर्गत पहिलो अवस्थामा मिर्गौलामा क्षति भए पनि जीएफआर सामान्य नै हुन्छ । यसमा पिसाबमा प्रोटिन देखिनुका साथै जीएफआर ९० वा त्यसभन्दा बढी हुन्छ । दोस्रो अवस्थामा मिर्गौलामा क्षतिसँगै जीएफआरमा न्यून मात्रामा कमी देखिन्छ । यो अवस्थामा जीएफआर ६० देखि ८९ सम्म हुन्छ ।
तेस्रो अवस्थामा जीएफआरमा न धेरै राम्रो न धेरै खराबको कमी देखिन्छ । यो अवस्थामा ३० देखि ५९ सम्म जीएफआर हुन्छ ।चौथो अवस्थामा जीएफआरमा गम्भीर कमी देखिन्छ । यो स्थितिमा जीफआरको दर १५ देखि २९ सम्म हुन्छ । पाँचौं अवस्था भनेको मिर्गौला काम नलाग्ने अवस्थामा पुग्नु (किड्नी फेलर) हो । यो अवस्थामा जीएफआर १५ भन्दा मुनि हुन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगसम्बन्धी जनसंख्यामा आधारित व्यापकताबारे गरेको अध्ययनअनुसार मुलुकमा २० वर्षमाथिको जनसंख्यामा दीर्घकालीन मिर्गौला रोगको व्यापकता ६ प्रतिशत छ । सन् २०१६ देखि २०१८ सम्म ७२ जिल्लाका १३ हजार २ सय नमुनामा सर्वेक्षण गरेर यो नतिजा निकालिएको हो ।
नेपालमा दीर्घकालीन मिर्गौला रोगको अन्तिम अवस्थामै अधिकांश व्यक्ति चिकित्सकसमक्ष पुग्ने गरेका छन् । छिमेकी देश भारतमा समेत करिब ८० प्रतिशत मिर्गौलारोगी चौथो वा पाँचौं अवस्थामा चिकित्सककहाँ पुग्ने गरेको भारतस्थित फोर्टिस हस्पिटलको नेफ्रोलजीका निर्देशक प्रा.डा. सञ्जीव गुलाटी बताउँछन् ।
त्यसैगरी वरिष्ठ मिर्गौलारोग विशेषज्ञ प्रा.डा. ऋषि काफ्ले भन्छन्, ‘नेपालमा अन्तिम अर्थात पाँचौं अवस्थामा अधिकांश मिर्गौलारोगी अस्पतालको सम्पर्कमा आउनुले चिकित्सकहरू यो रोग उपचारमा निरीह जस्तै अनुभव गरिरहेका हुन्छन् ।’
इन्डियन सोसाइटी अफ नेफ्रोलजीका उपाध्यक्षसमेत रहिसकेका डा. गुलाटीका अनुसार नेपाल र भारतमा धेरै ढिलो मिर्गौलारोगको पहिचान गरिनुले रोगको जटिलता बढाउने मुख्य समस्याका रूपमा समेत देखिएको छ । एक पटक पाँचौं अवस्थाको मिर्गौला रोग हुँदा डायलसिस वा प्रत्यारोपणबाहेक अन्य विकल्प नै रहँदैन,’ डा. गुलाटी भन्छन्, ‘यौ मौन हत्यारासमेत हो । मुटुमा दुखाइ हुन्छ तर मिर्गौलामा दुखाइ हुँदैन । यसैले रोगीहरू अन्तिम अवस्थामा आउने गरेका हुन् ।’ विज्ञहरूका अनुसार जीएफआर ६० भन्दा तलको अवस्थामा ३ महिना वा त्यसभन्दा बढीको अवस्था नै दीर्घ मिर्गौला रोग हो ।
रोगको कारण के ?
मिर्गौला रोग हुने थुप्रै कारण छन् । हालैका दिनमा नेपालमा मिर्गौला बिग्रिने दुइटा प्रमुख कारणमा मधुमेह र उच्च रक्तचाप स्थापित हुँदै गरेको डा. काफ्ले बताउँछन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार मुलुकमा २० वर्षमाथिको जनसंख्यामा मधुमेह रोगको व्यापकता ८.५ र कोरोनरी आट्री रोगको व्यापकता २.९ प्रतिशत रहेको देखिएको छ ।
‘मधुमेहले आँखा, मुटु, नसामा मात्र नभई मिर्गौलामा समेत असर गरिरहेको हुन्छ,’ डा. काफ्ले भन्छन्, ‘यस्तै अनियन्त्रित उच्च रक्तचापले हृदयाघात, स्ट्रोक हुने मात्र नभई मिर्गौलालाई पनि नराम्ररी क्षति पुर्‍याउँदै छ ।’ मिर्गौलामा भएको रगत शुद्घीकरण गर्ने इकाइ ‘ग्लोमेरुली’ मा हुने सुन्निने रोग ‘ग्लोमेरुलोनेफ्राइटिस’ ले समेत मिर्गौला बिगार्छ । यस्तै, मिर्गौलाको पत्थरी, मूत्रमार्गको संक्रमण, जन्मजात रोग, पोलिसिस्टिक मिर्गौला रोग,’ औषधि र विषाक्तता आदिले समेत मिर्गौलाको क्षमता क्रमशः ह्रास हुँदै जान्छ ।
हाल प्रदूषणले समेत मिर्गौला बिगारिरहेको छ । प्रदूषण रगतमा जान्छ । मिर्गौलाको काम रगत छान्नु हो । सबैखाले प्रदूषणको विषले मिर्गौलामा दबाब उत्पन्न गर्छ । अध्ययनहरूका अनुसार प्रदूषित ठाउँमा रहनेमा मिर्गौलाको रोग बढी देखिएको छ ।
ग्यास्ट्रिक र दुखाइनाशक औषधि हानिकारक
यदि तपाईंलाई आफ्नो मिर्गौलालाई स्वस्थ राख्नु छ भने आफूखुसी औषधि पसलवाट किनेर दुखाइ नाशक र एसीडीटीको औषधि नखानुहोला । यो दुवै औषधिले मिर्गौलालाई
बिगार्छ । एसीडीटी (ग्यास्ट्रिक) को औषधि लाई ‘प्रोटोन पम्प इनहिवेटर्स’ भनिन्छ । अमेरिकास्थित नेसनल किडनी फाउन्डेसनका अनुसार यसको दीर्घकालीन उपयोगले दीर्घकालीन मिर्गौला रोग, एक्युट इन्टरस्टेसल नेफ्राइटिस, हृदयाघातलगायत रोग हुने सम्भावना बढ्छ ।
यो प्रोटोन पम्प इनहिवेटर्स औषधि पेन्टाप्रजोल, ओमीप्रजोल/सोडियम वाइकार्वोनेट, रेविप्रजोल, लान्सोप्रजोल, इसमेपाजोल, डेक्सलेन्ससप्रजोल आदि ‘जेनेरिक’ नाम भएका हुन् । ग्यासलगायत केही भयो भने तुरन्त ‘पेन्टासिड’ लगायत यो समूहको औषधि खाइहाल्ने बानी समाजमा समस्या जस्तै देखिएको औल्याउँदै डा. गुलाटी भन्छन, ‘यस्तो ग्यास्ट्रिकको औषधि वर्षौंसम्म खाइरहन्छन् । यसैले मिर्गौलालाई क्षति पुर्‍याउँछ, बिस्तारै मिर्गौलालाई खराब बनाउँछ ।’
अमेरिकामा भएको अध्ययन औंल्याउँदै उनी ८ साताभन्दा बढी ‘पेन्टाप्रोजोल’ खाँदा मिर्गौलारोग हुने जोखिम ५० गुणाले बढ्ने बताउँछन् । ग्यास्ट्रिकको यस्तो औषधि एक पटक खान सुरु गरेपछि धेरैजसो व्यक्तिले यसलाई खान छोड्दैनन् । पेन्टोप्राजोल समूहका यस्ता औषधिलाई चिकित्सकको निगरानीमा कम समयका लागि लिनुपर्छ । सामान्यतः दुखाइ हुँदा आफूखुसी ब्रुफेन, वुभरनजस्ता औषधि खाने गरेको चलनलाई औंल्याउँदा डा. गुलाटी दुखाइ भए पारासिटामोल औषधि लिनुपर्ने सुझाव दिन्छन् ।
लामो समयसम्म ‘नन स्टेराइड एन्टी इन्फलामेन्ट्री औषधि’ उपयोग गर्नु मिर्गौलाका लागि हानिकारक मानिन्छ । चिकित्सकले प्रस्तावित नगरेसम्म दुखाइका लागि ब्रुफेन, वुभरनजस्ता औषधि उपयोग गर्नु हुन्न ।
डायलसिसको अवस्थाअगावै प्रत्यारोपण उत्तम
दीर्घकालीन मिर्गौला रोग भएकाहरूमा डायलसिस गराउनैपर्ने अवस्था आउनुअगावै मिर्गौला प्रत्यारोपण गराउनु सर्वोत्तम मानिन्छ । यसलाई डायलसिस गर्नुपर्ने अवस्था सुरु नहुँदै मिर्गौला प्रत्यारोपण गराउनु अर्थात ‘प्रि इम्पटिभ किड्नी ट्रान्सप्लान्ट’ भन्ने गरिन्छ ।
मिर्गौला रोगको पाँचौं अवस्थामा मिर्गौलाको रगत छान्ने क्षमता करिब १५ प्रतिशत रहिरहन्छ । मिर्गौलाको क्षमता १० प्रतिशतमा पुग्दा डायलसिस गराउनुपर्ने अवस्था आउँछ तर मिर्गौलाको कार्यक्षमता १५ प्रतिशत रहेकै अवस्थामा मिर्गौला प्रत्यारोपण ‘प्रि इम्पटिभ किडनी ट्रान्सप्लान्ट’, गराउनु सबैभन्दा राम्रो हुने डा. गुलाटी बताउँछन् ।
उनले सन् १९९५ मा आफू सञ्जय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स, लखनउ, भारतमा कार्यरत रहँदा नेपालबाट मिर्गौलारोग भएको एउटा बच्चा आएको घटना सम्झन्छन् । त्यसताका स्कुलमा पढ्दै गरेका ती बच्चाका बुबा प्रहरीमा कार्यरत थिए । आफूले ती बालकको सन् १९९५ मा ‘प्रि इम्पटिभ किड्नी ट्रान्सप्लान्ट’ गरेको जनाउँदै हाल करिब २५ साल पूरा भए पनि उनी पूर्ण स्वस्थ रहेको बताउँछन् ।
‘ती नेपाली बालकले पढाइ पूरा गरे, उनको बिहा भयो, सन्तान पनि भए तर कुनै ‘रिजेक्सन’ भएन,’ डा. गुलाटीले भने, ‘प्रि इम्पटिभ ट्रान्सप्लान्टको सफलताको दर बाँकी प्रत्यारोपणभन्दा राम्रो हुन्छ ।’ डायलसिस गर्दा शरीर कमजोर हुन्छ, विभिन्न प्रकारको संक्रमण हुन्छ र प्रत्यारोपणको सफलताको दरसमेत कम हुने भएकाले ‘प्रि इम्पटिभ ट्रान्सप्लान्ट’ पहिलो रोजाइ हुनुपर्ने उनी बताउँछन् ।
आयुर्वेद उपचारका नाममा ठगी
विशेषज्ञहरू आयुर्वेदका माध्यमले डायलसिस, प्रत्यारोपणबिनै दीर्घकालीन मिर्गौला रोगको उपचार गर्ने दाबी सही नरहेको औंल्याउँछन् । मिर्गौला फेल भएकाहरू हाल वैकल्पिक चिकित्साका रूपमा आयुर्वेदतर्फ समेत गइरहेका छन् ।
‘भारतीय टीभी च्यानल, पत्रपत्रिकाहरूमा हाल एउटा विज्ञापन आउने गर्छ । तपाईंको किड्नी फेल भयो भने तुरुन्त आउनुस्, तपाईंको बिनाडायलसिस वा प्रत्यारोपण हामी उपचार गछौं,’ डा. गुलाटी भन्छन्, ‘तर यो सरासर गलत हो । जो समयअनुसार भरोसा गर्न सकिने उपचार छ, त्यसलाई नै अपनाउनुस् ।’
आयुर्वेद भनेर दाबी गरिने मिर्गौलाको यस्तो उपचारबारे कुनै अनुसन्धान नभएको औंल्याउँदै विशेषज्ञहरूले यस्ता दाबी गर्ने व्यक्तिले समस्याको नाजायज फाइदा उठाइरहेको बताउँछन् । ‘हामीसँग थुप्रै यस्ता प्रमाण छन्, जुन बिरामीले आयुर्वेदिक औषधिलाई प्रयोग गर्दा उनीहरूको ज्यान समेत गयो,’ डा.गुलाटी भन्छन्, ‘किनभने यस्ता उपचार पद्घति अपनाउनेको शरीर यति कमजोर भयो कि उनीहरू प्रत्यारोपणका लागि लायकसमेत रहेनन्, यसैले डाक्टरमा विश्वास गरेर अनुसन्धान भएको उपचार विधिलाई अपनाउनुस् ।’
आयुर्वेदिक औषधिमा पाइने हेभी मेटल्स (गह्रौं धातु) ले मिर्गौला बिगार्छ । आयुर्वेदिक औषधिको कारण मिर्गौला बिग्रेर बर्सेनि एक–दुई वटा बिरामी आफूकहाँ आउने गरेको जनाउँदै डा. गुलाटी भन्छन्, ‘यसको अर्थ यो होइन कि सबै आयुर्वेदिक औषधि नराम्रा छन् तर यसमा अहिले पूरा अनुसन्धान भएको छैन, त्यो बिर्सनु हुन्न ।’
बर्सेनि परीक्षण गरौं
बर्सेनि कम्तीमा एक पटक रगत र पिसाब जाँच गराउँदा आफूलाई मिर्गौला रोग भए/नभएको यकिन गर्न सकिने वरिष्ठ मिर्गौलारोग विशेषज्ञ प्रा.डा. ऋषि काफ्ले बताउँछन् । चार दशक नाघेका सबैले बर्सेनि एक पटक यो दुवै परीक्षण गराउनुपर्ने उल्लेख गर्दै प्रा.डा.काफ्ले मधुमेह र उच्च रक्तचापको बिरामीले उमेरको हद नहेरी बर्सेनि एक पटक यो परीक्षण गराउनैपर्ने बताउँछन् ।
यस्तै परिवारमा मिर्गौलारोगी देखिएकाहरूले समेत उमेरको दुई दशक नाघेपछि बर्सेनि एक पटक यी परीक्षण गराउनुपर्छ । यति मात्र नभएर दुखाइनाशक औषधिको अत्यधिक उपयोग गर्नेहरू, धूमपान, मद्यपान, सुर्ती सेवन गर्नेहरू, नियमित रूपमा इनर्जी ड्रिंक र कोल्ड डि्रंकको सेवन गर्नेले समेत बर्सेनि एक पटक रगत र पिसाब परीक्षणबाट आफ्नो मिर्गौलाको स्थिति हेर्नुपर्छ ।
‘बर्सेनि एक पटक रगतमा क्रिएटिनिनको मात्रा र पिसाबमा प्रोटिन/एल्बुमिनको मात्रा परीक्षण गराएर आफ्नो मिर्गौलाको स्थिति बुझ्न सकिन्छ,’ प्रा.डा.काफ्ले भन्छन्, ‘पिसाबमा प्रोटिन देखिनेबित्तिकै आफ्नो मिर्गौला जोखिममा रहेको ठानी तुरुन्त विशेषज्ञसँग जँचाउनुपर्छ ।’ यस्तै रगतमा क्रिएटिनिनको मात्राले उच्चतम परिमाण नाघेको छैन भने ढुक्क भएर बसे हुन्छ तर बढी छ भने तत्काल जँचाउनुपर्छ ।

स्वास्थ्य

डाइलसिसभन्दा प्रत्यारोपण उत्तम

- कान्तिपुर संवाददाता

दीर्घकालीन मिर्गौला रोगको अन्तिम अवस्थाका रोगीमा डायलसिस वा मिर्गौला प्रत्यारोपणबाहेक अन्य विकल्प हुँदैनन् । तर प्रत्यारोपणमा एक पटक बढी खर्च लाग्ने भएकाले डायलसिस गरेर जीवन जोगाउनेहरू अधिक छन् ।
यसमा कुनै सन्देह छैन कि प्रत्यारोपण डायलसिसभन्दा चार–पाँच गुणा राम्रो हुन्छ । प्रत्यारोपण गराएकाहरू डायलसिस गराइरहेकाभन्दा बढी बाँच्ने गरेको समेत देखिएको छ । यदि १०० व्यक्ति लाई डायलसिसमा राखौं र अमेरिकामा जस्तै डायलसिस गरौं भने पनि हरेक वर्ष २० जना बाँच्दैनन् । पाँच वर्ष डायलसिस गराइरहेका सयमध्ये बीस जना जीवित रहनेछन् ।
यदि डायलसिसलाई हामी प्रत्यारोपणबाट तुलना गर्‍यौं भने एक सय व्यक्तिको प्रत्यारोपण गर्दा हरेक वर्ष ३–४ जना व्यक्तिलाई समस्या आउँछ । पाँच वर्षको अन्तमा मिर्गौला प्रत्यारोपण गराएका एक सयमध्ये ८० जना पूर्ण रूपले स्वस्थ रहनेछन् । नेपालमा निःशुल्क भए पनि सीमित रूपमा डायलसिस सेवाले गर्दा पर्खाइमा रहेका बिरामीको परिवारको धेरै पैसा खर्च हुन्छ । प्रत्यारोपण भएपछि जागिर गरेर परिवारका लागि कमाउन सकिन्छ । सरकारको ‘फोकस’ एक त मिर्गौलाको रोग छिटोभन्दा छिटो कसरी समातौं भन्ने कुरामा हुनुपर्छ । अर्को कुरा, यसमा दुईमत छैन, जहाँ डायलसिस र प्रत्यारोपणको कुरा छ भने प्रत्यारोपणमा बढी ‘फन्डिङ’ गर्नुपर्छ । डायलसिस उपचार धेरै महँगो हुनुका साथै यो निरन्तर गरिरहनुपर्छ ।
नेपाल सरकारलाई मेरो सुझाव छ सबैभन्दा पहिले प्रारम्भिक अवस्थामै मिर्गौला रोग पहिचान हुन सक्ने अवस्था सिर्जना गर्नुस् र मिर्गौला प्रत्यारोपणमा बढी केन्द्रित हुनुस् । प्रत्यारोपण गराएकाहरू समाजका लागि उपयोगी उत्पादकत्व भएका सदस्यका रूपमा हुने गरेका छन् । जस्तो डायलसिस हामीकहाँ (नेपाल–भारत) हुन्छ, त्यहाँ डायलसिसका बिरामी त जागिर गर्नै सक्दैनन् । नियमित रूपमा डायलसिस गराउन आउँछन् र फिर्ता जान्छन् । उनीहरू बारम्बार अस्पताल भर्ना हुन्छन्, संक्रमण हुन्छ, निमोनिया हुन्छ र कतिपय त धेरै समय बाँच्दैनन् । बिरामीहरू मिर्गौला प्रत्यारोपण भएको दुई महिनापछि नै आफ्नो जागिर, काममा फर्कन सक्छन् ।
(गुलाटी भारतको फोर्टिस हस्पिटलका नेफ्रोलजी निर्देशक हुन्)

स्वास्थ्य

तातोपानीले नुहाउँदा मधुमेह नियन्त्रित

- कान्तिपुर संवाददाता

हालै गरिएको एक अनुसन्धान अनुसार तातो पानीले नुहाउनु मधुमेह नियन्त्रणमा आउने देखिएको छ ।
अध्ययनअनुसार तातोपानीले नुहाउँदा सुन्निएको अवस्थामा सुधार आउनुका साथै ब्लड सुगरको स्तरलाई समेत कम गर्छ । यो अध्ययन ‘जर्नल अफ एप्लाइड फिजियोलजी’मा प्रकाशित छ । यसअन्तर्गत लोफवोरा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले दस जना गतिहीन बढी तौल भएका पुरुषको विश्लेषण गरे ।
यदि तपाईं एक घण्टासम्म तातोपानीले नुहाउनुहुन्छ भने यो व्यायामजस्तै शरीरका लागि फाइदाकारी हुन्छ र सुन्निएको अवस्थालाई समेत कम गर्छ । अध्ययनमा यो समेत पाइयो कि तातोपानीको टबमा केही समय रहनाले शरीरमा रक्तचाप कम गर्ने पदार्थसमेत निस्किने गर्छ ।
अध्ययनमा सहभागीहरूले ३८ डिग्री सेन्टिग्रेड (१००.४ डिग्री फरेनहाइट) को तापक्रम भएको तातोपानीमा नुहाए । उनीहरूको रगतको नमुना लिनुभन्दा अघि, त्यसको तत्काल २ घण्टापछि पुरुषमा ग्लुकोज र इन्सुलिनको स्तर परीक्षण गर्न सुन्नाइको मार्कर हेर्न लगियो । नुहाउने समय
हरेक १५ मिनेटमा मुटुको चाल, रक्तचाप र शरीरको तापक्रमको तथ्यांकसमेत राखियो ।
तातोपानीले नुहाउने पुरुषलाई रगत परीक्षण गराउनुभन्दा पहिले दुई सातासम्म कम्तीमा १० पटक नुहाउने सल्लाह दिइयो । परिणामले के थाहा पाइयो भने तातोपानीले मात्र नुहाउँदा रगतको प्रवाहमा ‘इन्फ्लामेट्री केमिकल ‘आईएल–६’ को स्तरलाई बढाउँछ । यो व्यायामको समयसमेत बढ्छ, जो
‘इन्फ्लामेट्री रेस्पोन्स’ लाई बढाउँछ ।
एक पटकको तातोपानीको नुहाइले नाइट्रिक अक्साइडलाई निष्कासन गर्छ, जसले रगतको नलीलाई आराम दिन्छ र यसैले रक्तचापसमेत नियन्त्रणमा रहन्छ ।

स्वास्थ्य

पाचन प्रणालीलाई सघाउँछ मेवाले

- कान्तिपुर संवाददाता

पाचनका लागि सबै आवश्यक गुणले भरिपूर्ण मेवा शरीरलाई पोषण दिने अत्यन्त स्वास्थ्यवर्द्धक फल हो । यसले शरीरको क्षारलाई सन्तुलित राख्छ ।
आयुर्वेदका अनुसार पाकेको मेवाको सेवनले पित्तको शमन हुन्छ र भोजनप्रति रुचि उत्पन्न हुन्छ । मेवामा ‘पपेन’ नाउँ गरेको पदार्थ पाइन्छ । यसलाई धेरै राम्रो पाचक मानिन्छ । मेवाको रसले प्रोटिनलाई सजिलै पचाउँछ । यसैले मेवा पेट र आन्द्रासम्बन्धी विकारमा धेरै लाभदायक मानिन्छ । यसले पेट र आन्द्रालाई सफा गरेर क्षारको प्राकृतिक स्तर बनाउने काम राम्ररी गर्छ ।
यो मांसाहारलाई गलाउन काम लाग्छ । भोजन पचाउन यो अत्यन्त सहायक हुन्छ । मेवाको नियमित सेवनले अरुचि हट्छ, कब्जियत निको हुन्छ र भोकमा वृद्घि हुन्छ । कलेजो तथा जन्डिसमा मेवा धेरै फायदाकारी मानिन्छ । यसको प्रयोग सौन्दर्य प्रसाधनमा समेत गरिन्छ ।
लामो समयसम्म मेवा खानाले बोसो कम हुन्छ र कम्मरको सौन्दर्य बढ्छ । एक सय ग्राम मेवामा ९८ क्यालोरी पाइन्छ । यस्तै दुई ग्रामसम्म प्रोटिन, एकदेखि दुई ग्राम ‘रेसा/फाइबर’, तथा ७० मिलिग्राम लौहतत्त्व हुन्छ । यसमा पानीको अंश ८९.६ प्रतिशत, प्रोटिन ०.५, बोसो ०.१, कार्बोदित पदार्थ ९, क्षार तत्त्व ०.५, क्याल्सियम ०.०१ र फास्फोरस ०.०१ प्रतिशत पाइन्छ ।
यसमा भिटामिन ‘ए’ र ‘सी’, प्रचुर मात्रामा पाइन्छ । आँपपछि सबैभन्दा बढी भिटामिन ‘ए’ मेवामै पाइन्छ । यो जसरी पाक्न थाल्छ, त्यसरी नै यसमा भिटामिन ‘सी’ को मात्रा बढ्न थाल्छ ।
यसमा पाइने भिटामिन ‘ए’ छाला एवं आँखाका लागि धेरै आवश्यक छ । यो भिटामिनले छाला स्वस्थ, स्वच्छ र टल्किने हुन्छ । यस्तै भिटामिन ‘बी’ र ‘डी’ पनि बढी मात्रामा पाइन्छ । मेवामा फस्फोरस, म्याग्नेसियम, सोडियम तथा शरीरका लागि आवशयक अन्य खनिज लवणसमेत पाइन्छ ।
एक अध्ययनका अनुसार काँचो मेवामा भिटामिन ‘सी’ ४० देखि ९० मिलिग्राम, आधा पाकेकामा ५० देखि ९० मिलिग्राम र पाकेकामा ६० देखि एक सय ४० मिलिग्राम पाइन्छ । मेवामा हुने जम्मा चिनीको आधा भाग ग्लुकोज र आधा फल सर्कराका रूपमा हुन्छ ।
मेवा सौन्दर्य प्रसाधनमा समेत उपयोग हुन्छ । पाकेको मेवाको लेदो बनाएर अनुहारमा लगाउनाले कालो पोतोबाट बच्न सकिन्छ । यसले छालाको रुखोपना हट्नुका साथै चाउरी पर्ने समस्या कम हुन्छ । यो स्वाभाविक ‘ब्लिच’ सँगै छालाको स्निग्धताको समेत रक्षा गर्छ । अनुहारको दाग हटाउन यो धेरै प्रभावकारी मानिएको छ ।
आयुर्वेदका अनुसार मेवा खानाले धातुसम्बन्धी विकार र वीर्यको कमी हटाउँछ । यसले पाचनशक्तिलाई सुधार गर्नुका साथै पेटजन्य विकार हटाउँछ । काँचो मेवा खानाले कफ–वातको वृद्घि हुन्छ तर यो अजीर्ण, कलेजोको विकार, पाइल्स आदि रोगका लागि गुणकारी मानिन्छ ।

Page 9
विदेश

अस्ट्रेलियाली सडकमा हजारौं

जलवायु परिवर्तनका असरबारे जुध्न प्रभावकारी कदम चाल्न नसकेको भन्दै सिड्नी, मेलबर्न, ब्रिसबनलगायत प्रमुख सहरमा प्रधानमन्त्री स्कट मरिसनविरुद्ध प्रदर्शन
- नारायण खड्का
अस्ट्रेलियाको सिड्नीमा शुक्रबार गरिएको प्रदर्शनका सहभागी । तस्बिर ः रोयटर्स

(अस्ट्रेलिया) - लगातारको आगलागीका कारण जनजीवन अझै प्रभावित रहेको अवस्थामा जलवायु परिवर्तनका लागि प्रभावकारी काम गर्न माग गर्दै अस्ट्रेलियाको विभिन्न सहरमा दसौं हजारले प्रदर्शन गरेका छन् । प्रर्दशनीका सहभागीले अस्ट्रेलियाली प्रधानमन्त्रीको आलोचना गरेका थिए ।
सिड्नी, मेलबर्न, ब्रिसबनलगायत सहरमा आयोजित र्‍यालीका सहभागीले प्रधानमन्त्री स्कट मरिसनको राजीनामासमेत माग गरेका थिए । ‘युनी स्टुडेन्ट्स फर क्लाइमेट चेन्ज’ नामक संस्थाले आयोजना गरेको प्रदर्शनीले सहरका मुख्य भाग निकै प्रभावित भएका थिए ।
प्रदर्शनकारीले ‘स्याक स्कोमो’ अर्थात् स्कट मरिसनको बर्खास्ती लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । उनीहरूले स्वयंसेवक अग्निनियन्त्रकका रूपमा काम गरिरहेकाहरूलाई क्षतिपूर्ति दिनुपर्ने साथै घर जलेर घरवारविहीन भएकालाई उचित बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
अस्ट्रेलियाका अधिकांश भागमा विगत ५ महिनादेखि लागेको डढेलोले जनजीवन प्रभावित छ । हजारौंको उपस्थिति रहेको र्‍यालीका कारण व्यस्त समयमा सिड्नी, मेलबर्न, ब्रिसबनलगायत सहरको यातायात प्रभावित बनेको सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसैगरी, जलवायु परिवर्तनसम्बन्धी प्रभावकारी कार्यक्रम नल्याएको भन्दै प्रधानमन्त्री मरिसनको आलोचनासमेत हुँदै आएको छ । शुक्रबार आयोजित र्‍यालीमा समेत आगलागी नियन्त्रणमा प्रभावकारी कार्य हुन नसकेको भन्दै आलोचना गरिएको थियो ।
प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले सिड्नीमा आयोजित र्‍यालीमा ५ हजारभन्दा बढी प्रदर्शनकारी सहभागी रहेको जनाए । उनका अनुसार र्‍यालीका सहभागीका अधिकांशले जलवायु परिवर्तनका लागि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्ने र आगलागीपीडितलाई उचित बासस्थानको व्यवस्था गर्नुपर्ने’ माग गरेका थिए । र्‍यालीमा युवायुवतीका साथै वृद्धवृद्धा र आगलागीपीडितको समेत उल्लेख्य सहभागिता रहेको राजवंशीले जनाए ।
चार महिनाभन्दा लामो समयदेखि आगलागी र सुक्खाबाट पीडित अस्ट्रेलियाको पछिल्लो डढेलो जलवायु परिवर्तनका लागि प्रभावकारी नीतिको माग हुँदै आएको छ । यद्यपि यसबारे सरकारले उचित ध्यान नदिएको गुनासो अधिकांशको छ ।
भिक्टोरिया राज्यका प्रिमियर ड्यानिल एन्ड्रयुले भने शुक्रबार आयोजित प्रदर्शनको आलोचना गरेका छन् । प्रदर्शनमा सहभागी ठूलो भीड व्यवस्थित गर्न आगलागी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी ल्याउनुपर्ने भएकाले आगलागी नियन्त्रणमा ढिलासुस्ती हुने उनको दाबी छ । आयोजकहरूले भने सरकारले जलवायु परिवर्तनका पक्षमा प्रभावकारी कार्यक्रम ल्याएको खण्डमा आफूहरूले प्रदर्शन रोक्ने बताएको समाचारमा जनाइएको छ ।
विरोध किन ?
अस्ट्रेलियाका सञ्चारविज्ञ तथा विश्लेषक भरतराज पौडेल प्रधानमन्त्री मरिसनले जलवायु परिवर्तनलाई हल्का रूपमा लिँदै प्राकृतिक प्रक्रिया भएको बताउनु र आगलागी भएपछि त्यसतर्फ बेलैमा चासो नदेखाउनु मुख्य कारण रहेको बताउँछन् । मरिसन जनताको पीडामा तत्कालै भावनात्मक रूपले गम्भीर नभएको र जनता र विश्व समुदायका केही नेताले जलवायु परिवर्तनका लागि उठाइरहेका विभिन्न मुद्दालाई आगलागीका सुरुका दिनमा हलुका रूपमा लिएकाले समेत उनको विरोध भएको हो ।
यसैगरी अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन देशमा आगलागी भइरहेको समयमा आफ्नो परिवारसँग बिदा मनाउन हवाई गएपछि अधिकांशले आलोचना गरेका थिए । उनलाई देश आगलागीको चपेटामा परेको समयमा बिदा मनाउन गएको भन्दै विपक्षी दलका साथै सर्वसाधारणले आलोचना
गरेका थिए ।
आगलागीपीडितलाई भेट्न भिक्टोरिया पुगेका मरिसनसमक्ष गतसाता स्थानीयले चर्को आक्रोशसमेत पोखेका थिए । उक्त समयमा पीडितले हात मिलाउन अस्वीकार गर्नुका साथै आगलागी नियन्त्रणका लागि आवश्यक स्रोतसाधनको व्यवस्था नगरे आगामी चुनावमा भोट नदिने चेतावनी दिएका थिए तर प्रधानमन्त्री मरिसनले यस घटनालाई व्यक्तिगत रूपमा नलिने बताउँदै आफूले ‘पीडितको पीडा महसुस गरेको’ बताएको बीबीसीले उल्लेख गरेको थियो तर पनि पछिल्लो समयमा उनले सरकारको तर्फबाट अपेक्षा गरेभन्दा धेरै खर्च र जनशक्ति आगलागी नियन्त्रणका लागि खटाइरहेका छन् । आगलागीबाट भएको क्षति परिपूर्ति गर्न अर्बौं डलर लाग्ने अनुमान गरिएको छ ।

विदेश

इन्टरनेट बन्दको समीक्षा गर्न आदेश

कश्मीर संकट
- एजेन्सी
भारत प्रशासित कश्मीरमा शुक्रबार इन्टरनेट सेवा लिन सरकारद्वारा सञ्चालित मिडिया सेन्टर पुगेका पत्रकार ।तस्बिर ः रोयटर्स

 

नयाँदिल्ली – भारतको सर्वोच्च अदालतले कश्मीरमा लामो समयदेखि इन्टरनेट सेवा बन्द भएको बारे समीक्षा गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
भारत प्रशासित कश्मीरमा १५० दिनदेखि इन्टरनेट सेवा बन्द रहेको छ । भारत सरकारले गत अगस्ट ५ देखि उक्त क्षेत्रमा इन्टरनेट र मोबाइल तथा ल्यान्डलाइन फोन सेवा बन्द गरिदिएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार सरकारी निर्णयको विरोधमा परेको याचिकाबारे निर्णय गर्दै अदालतले शुक्रबार सरकारलाई एक साताभित्र इन्टरनेट सेवा बन्दको निर्णयबारे समीक्षा गर्न आदेश दिएको हो ।
‘राज्यले इन्टरनेट सेवा पूर्ण रूपमा कटौती गर्नु भनेको असाधारण उपायका रूपमा लिनुपर्छ,’ न्यायाधीश एन.भी. रमनाले अदालतको फैसला पढ्दै भने । तीन न्यायाधीशको संयुक्त इजलासले गरेको फैसलामा इन्टरनेट सेवा बन्द गरिनु ‘अव्यावहारिक’ भएको उल्लेख गरेको छ ।
सर्वोच्च अदालतले सरकारले लगाएको जस्तो प्रतिबन्ध प्रतिकूल अवस्थामा ‘छोटो समयका लागि मात्र हुन सक्ने’ पनि प्रस्ट पारेको छ । ‘इन्टरनेट सेवा प्रयोग गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको महत्त्वपूर्ण अंश हो,’ अदालको फैसलामा भनिएको छ । जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरेसँगै भएका विरोध प्रदर्शनलाई मत्थर पार्न भारतको केन्द्र सरकारले उक्त क्षेत्रमा सञ्चारका माध्यममाथि नियन्त्रण गर्नुका साथै कर्फ्यु आदेशसमेत जारी गरेको थियो ।
सरकारले गत अक्टोबरमा केही मोबाइल तथा टेलिफोन सेवा सुचारु गरेको भए पनि इन्टरनेट सेवामा गरिएको प्रतिबन्धका कारण खास गरी सञ्चार माध्यम तथा व्यवसायहरू निकै मारमा परेका छन् ।
यसअघि कश्मीरमा सन् २०१६ को जुलाई ८ देखि नोभेम्बर १९ सम्म इन्टरनेट सेवा बन्द गरिएको थियो, जसका कारण जम्मु–कश्मीर क्षेत्रको अर्थतन्त्रमा निकै ठूलो प्रभाव परेको बीबीसीले उल्लेख गरेको छ । भारत सरकारले सन् २०१७ मा पश्चिम बंगालमा ९९ दिन इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको थियो ।
सञ्चारका माध्यममाथिको प्रतिबन्धका साथै भारत सरकारले जम्मुकश्मीर क्षेत्रमा उपनिवेसिक कानुन सेक्सन १४४ समेत लागू गरेको छ । उक्त कानुन ४ जनाभन्दा बढी मानिस भेला हुन तथा कानुनी शासनविरुद्धका गतिविधिमा प्रतिबन्धको व्यवस्था छ तर कानुनले ‘लोकतान्त्रिक अधिकारको वैधानिक अभिव्यक्तिमाथि रोक लगाउन नसक्ने’ अदालतको फैसलामा उल्लेख छ । भारत सरकारले गत अगस्ट ५ मा जम्मु–कश्मीरलाई विशेषाधिकारसम्बन्धी संविधानको धारा ३७० खारेज गरेपछि उक्त क्षेत्रमा तनाव बढेको हो । संविधानको उक्त धाराले केन्द्र र जम्मुकश्मीर राज्यबीचको सम्बन्ध र अधिकार बाँडफाँटलाई परिभाषित गरेको थियो ।
उक्त निर्णयसँगै सरकारले विपक्षी दलका नेता तथा कार्यकर्तालाई पनि लामो समयसम्म नजरबन्दमा राखेको थियो । पर्यटकहरूका लागि प्रवेश खुला गरिए पनि पछिल्ला दिनमा पनि विभिन्न विरोध प्रदर्शन तथा छिटपुट हिंसाका कारण कश्मीरको स्थिति सामान्य बन्न सकेको छैन ।

विदेश

'क्षेप्यास्त्रले विमान दुर्घटना'

- एजेन्सी

ओटावा – इरानी क्षेप्यास्त्रका कारण गतसाता युक्रेनको यात्रुवाहक विमान तेहरानमा दुर्घटनामा परेको पश्चिमा देशका नेताहरूले दाबी गरेका छन् । यद्यपि उनीहरूले त्रुटिवश त्यसो भएको हुन सक्ने जनाएका छन् ।
क्यानडा र यूकेका नेताहरू तथा संयुक्त राष्ट्रसंघले पनि विमान दुर्घटनाबारे पूर्ण र विस्तृत अनुसन्धान हुनुपर्ने मागसमेत गरेका छन् तर इरानले पश्चिमा देशको दाबी खण्डन गर्दै आफ्नो हवाई प्रतिरक्षा प्रणालीबाट क्षेप्यास्त्र प्रहार नभएको जनाएको छ ।
इरानी सरकारका एक प्रवक्ताले पश्चिमा देशले लगाएको आरोपप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ । इरानको नागरिक उड्डयन प्रमुखले पनि ‘विमानमा क्षेप्यास्त्र प्रहार नगरिएकामा आफू निश्चिन्त रहेको’ बताएका छन् । इरानले इराकस्थित दुइटा अमेरिकी सैनिक क्याम्पमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि तेहरानबाट किभका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा विभिन्न देशका १७६ नागरिकको मृत्यु भएको थियो ।
अमेरिकी सञ्चार माध्यमले ‘विमान दुर्घटनाको समय विचार गर्दा प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गर्दै गर्दा इरानले अमेरिकी लडाकु विमान भनेर झुक्किएकाले उक्त विमानलाई प्रहार गरेको हुन सक्ने’ अनुमान गरेका छन् । दुर्घटनामा ८२ जना इरानी, ६३ जना क्यानाडेली र ११ जना युक्रेनी नागरिकको ज्यान गएको थियो । त्यसैगरी, स्विडेन, यूके, अफगानिस्तान र जर्मनीका यात्रु पनि विमानमा रहेका थिए ।
इरानले दुर्घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाएको छ तर घटनास्थलबाट सार्वजनिक दृश्यमा विमानका भग्नावशेष सफा गरिएको देखिएपछि प्रमाणहरू नष्ट गरिएको हुन सक्ने चिन्ता व्यक्त भएका छन् । त्यसको केहीपछि शुक्रबार विमानको ‘ब्ल्याक बक्स’ खोलिएको इरानी समाचार संस्थाले जनाएको छ ।
क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले विभिन्न गुप्तचर स्रोतबाट आफूलाई प्राप्त सूचनाअनुसार इरानी क्षेप्यास्त्र प्रहारका कारण विमान दुर्घटनामा परेको देखिएको जनाए । यद्यपि, उनले इरानले उक्त क्षेप्यास्त्र नियतवश प्रहार नगरेको देखिएको बताएका छन् ।
‘यसले घटनाबारे विस्तृत छानबिन हुनुपर्ने आवश्यकता देखिन्छ,’ ट्रुडोले भने, ‘क्यानाडेलीको प्रश्न छ र उनीहरू त्यसको जवाफ पाउन योग्य छन् ।’

विदेश

नेपाल पर्यटक पठाउन चिट्ठा

- कान्तिपुर संवाददाता

लन्डन (कास)– ‘नेपाल भ्रमण वर्ष २०२०’ मा विदेशी पर्यटक आकर्षित गर्न चिट्ठाको माध्यम अपनाइएको छ । नेपाल आयरल्याण्ड सोसाइटीको सहकार्यमा नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास लन्डनले ‘भिजिट नेपाल २०२० युरोप लोटरी’ कार्यक्रम ल्याएका हुन् ।
लोटरीका मुख्य संयोजक तथा नेपाल आयरल्यान्ड सोसाइटीका
अध्यक्ष दीपेशमान शाक्यले लोटरी कार्यक्रमको मुख्य उद्देश्य युरोपमा रहेका नेपाली रेष्टुरेन्टहरूलाई पर्यटन प्रवर्द्धन केन्द्र बनाउनु र त्यसमार्फत भ्रमण वर्ष २०२० अभियानको प्रचार गर्नु रहेको बताए ।
‘यो लोटरी कार्यक्रम २०२० मा २० लाख पर्यटक पठाउने लक्ष्यमा योगदान पुर्‍याउन युरोपमा सम्भावित पर्यटकहरूसम्म पुग्ने प्रयास हो’, शाक्यले भने, ‘युरोपभरि ७ सयभन्दा बढी नेपाली रेस्टुरेन्ट रहेको अनुमान छ, जसमा वार्षिक करिब १० लाख ग्राहक पुग्छन् । यी रेस्टुरेन्टमा जाने ग्राहक नेपालप्रति माया र स्नेह राख्छन् । उनीहरू नेपालमा छुट्टीमा जाने सम्भावना बढी हुन्छ ।’
आयरल्यान्डको डब्लिनमा हालै आयोजित ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान उद्घाटनका अवसरमा लोटरी विजेताहरूको नाम घोषणा पनि गरियो । पहिलो पुरस्कार आयरल्यान्डकी मरिया हेफेर्ननले प्राप्त गरेकी छन् भने दोस्रो, तेस्रो र चौथो पुरस्कार क्रमशः तोबिअस मुल्लर (जर्मनी), पेराउड बेनोइत (फ्रान्स) र रचेल लिभेट (बेलायत) ले जिते ।
पहिलो पुरस्कार विजेताले युरोपबाट नेपाल जानआउन २ वटा टिकट, काठमाडौंका प्रख्यात रेस्टुरेन्टका निःशुल्क भौचर र नेपालका शीर्ष श्रेणीका होटलमा १४ रात निःशुल्क आवास सुविधा व्यवस्था गरिएको छ । त्यस्तै, अन्य विजेताहरूले नेपालका विभिन्न शीर्ष श्रेणीका होटलहरूमा निःशुल्क आवास पाउनेछन् ।
शाक्यका अनुसार अनलाइन सबमिसन र युरोपमा रहेका विभिन्न नेपाली रेस्टुरेन्ट र आयरल्यान्डमा आयोजना गरिएका विभिन्न कार्यक्रमबाट कुल १० हजार ३४१ जना ‘लक्की ड्र’ मा प्रवेश गरेका थिए । यसका माध्यमबाट सन् २०२० मा नेपाल जान आमन्त्रित गर्ने सन्देशसहित सोसल मिडियामार्फत दुई लाखभन्दा बढी युरोपियनसम्म पुग्न सफल भएको आयोजकको दाबी छ ।

Page 10
समाचार

अब पालिन्छन् कस्तूरी मृग

- अब्दुल्लाह मियाँ

(काठमाडौं) - कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले मनाङ र जाजरकोटमा कस्तूरी प्रजनन केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ ।
कश्मीर, अल्पाइन, कालो र हिमाली गरी चार प्रजातिका कस्तूरी नेपालमा पाइन्छन् । सुरुमा हिमाली र पछि कश्मीर प्रजातिलाई प्रजनन केन्द्रमा राखेर बीउ प्राणी जन्माइनेछ ।
कस्तूरी मृगका प्रजातिसमेत पाल्न सकिने गरी सरकारले कानुन बनाई पाल्न पाइने वन्यजन्तु, चरा, सर्प र भ्यागुतालगायत बीउ प्राणी र लाइसेन्सको दस्तुर (शुल्क) समेत राजपत्रमा प्रकाशित गरिसकेको छ । लाइसेन्स र बीउ प्राणीको दस्तुरबारे मंसिर २३ मा राजपत्र प्रकाशित भएको छ ।
कस्तूरी पालनको लाइसेन्स लिन एक लाख र एउटा बीउ प्राणीको ७५ हजार रुपैयाँ दस्तुर तोकिएको छ । जरायो, चित्तल, लगुना, रतुवा, नीलगाई, घोडगधा, खरायो, दुम्सी, बँदेल, भ्यागुता, पाहा, कछुवा, मयूर, कालिज, लुइँचे, मैना, सुगा, ढुकुर र तित्रालगायत बीउ प्राणी र लाइसेन्स दस्तुरसमेत तोकिएको छ । लाइसेन्सको १० हजारदेखि १ लाख र बीउ प्राणीको १ सयदेखि ७५ हजार रुपैयाँसम्म दस्तुर तोकिएको छ ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले अन्य प्रजातिका बीउ प्राणी सहजै उपलब्ध गराउन सकिए पनि कस्तूरी हिमाली क्षेत्रमा पाइने र तत्कालै उपलब्ध गराउन असम्भव भएकाले प्रजनन केन्द्रमा बीउ प्राणी उत्पादन गर्ने योजना अघि बढाइएको जानकारी दिए । ‘गण्डकीको मनाङ र कर्णालीको जाजरकोटमा प्रजनन केन्द्रमा जन्माएर कस्तूरी मृग पाल्न चाहने व्यक्ति र संस्थालाई बीउ प्राणी उपलब्ध गराउनेछौं,’ ढुंगानाले कान्तिपुरसित भने, ‘वन्यजन्तु पालनका लागि आवश्यक पर्ने सबै कानुन बनाइसकेका छौं ।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले वन्यजन्तु पालनको लाइसेन्स, आवश्यक मापदण्डलगायत अन्य प्राविधिक तयारी अन्तिम चरणमा पुगेको बताए । चालु आर्थिक वर्षदेखि नै पालन प्रक्रिया अघि बढाउने विभागको चाहना छ । वन्यजन्तु पाल्न चाहनेले विभागमै सम्पर्क गर्नुपर्ने हुन्छ । प्रवक्ता ढुंगानाले कस्तूरी प्रजनन केन्द्र स्थापनाको जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई दिइएको जानकारी दिए । नेपालका कस्तूरीमा विद्यावारिधि गरेका कोषमा कार्यरत पारसविक्रम सिंह छन् । प्रजनन केन्द्र स्थापनाका लागि आवश्यक प्राविधिक तयारीको काम अघि बढाउने जिम्मा कोषले सिंहलाई नै दिएको छ । उनका अनुसार प्रजनन केन्द्र स्थापनाका लागि मनाङमा ३१ सय मिटर र जाजरकोटमा २१ सय मिटर उचाइको स्थान पहिचान गरिएको छ । ‘केन्द्र स्थापना गर्ने ठाउँ पहिचान भइसकेको छ,’ उनले भने, ‘अब अत्याधुनिक केन्द्र बनाएर प्राकृतिक बासस्थानबाट कस्तूरी संकलन गरिनेछ ।’
प्रजनन केन्द्रका लागि सरकारले चालु आर्थिक वर्ष दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कस्तूरी प्रजननका लागि प्राकृतिक बासस्थान र तापक्रमसमेत सन्तुलन गर्नुपर्ने भएकाले उपयुक्त स्थान चयनका लागि अलि बढी समय लागेको उनले बताए । केन्द्रमा भाले र पोथी गरी कम्तीमा २० वटा कस्तूरी मृग प्राकृतिक बासस्थानबाट संकलन गरिने छ । ‘प्रजनन केन्द्रभित्र पनि सकेसम्म प्राकृतिक वातावरण दिन सकियो भने प्रजनन राम्रो हुने हाम्रो अपेक्षा छ,’ सिंहले भने, ‘प्राकृतिक बासस्थानमा रहेका कस्तूरीलाई जोखिम कम हुने गरी संकलन गरेर प्रजनन केन्द्रमा ल्याउने हाम्रो योजना छ ।’ विभागका अनुसार नेपालमा प्राकृतिक बाससस्थानमा ५ सयको संख्यामा कस्तूरी मृग छन् । धेरैजसो कस्तूरीले जुम्ल्याहा बच्चा जन्माउने भएकाले छिटो बीउ प्राणी उत्पादन गर्न सकिने सिंहले बताए । कस्तूरीले ९० प्रतिशत जुम्ल्याहा बच्चा जन्माउँछन् । कस्तूरीको प्रजनन गराउन र हुर्काउन तापक्रम भने बाह्रै महिना २५ डिग्री सेल्सियसभन्दा कम हुनुपर्ने हुन्छ । ‘ब्रिडिङका लागि तापक्रम २५ डिग्रीभन्दा माथि कहिल्यै जानु हुँदैन,’ उनले भने, ‘सकेसम्म १८ डिग्री कायम भइरहे राम्रो ।’
प्रजनन केन्द्रमा कस्तूरीको उत्पादनमा विश्वमै चीन सफल र अग्रणी मानिन्छ । मंगोलिया र रुसमा पनि यो सफल भएको छ । सरकारले व्यावसायिक हिसाबले पालिएका वन्यजन्तुबाट जन्मिएका पुस्ता (एफ २ जेनेरेसन), तिनका अंग र अंग प्रयोग गरी तयार गरिएका वस्तु विदेश निकासी गर्न दिने गरी कानुन बनाएको छ । अब कस्तूरी मृग, सुगन्धित कस्तूरी (बिना) र बिना प्रयोग गरी बनाइएका वस्तुसमेत निकासी गर्न पाइनेछ ।
सामान्यतया कस्तूरी २ हजार ५ सय मिटरभन्दा माथिल्ला भूभागमा बस्छ । वनले ढाकेको र अँध्यारो भाग मन पराउँछ । हतपत घाम नपुग्ने ठाउँलाई मुख्य बासस्थान बनाउने गरेको पाइन्छ ।
कस्तूरीको मुख्य आहार रूखमा टाँसिएका झ्याउ, घाँस, पात, फलफूल र सुकेको घाँसलगायत हो । ‘कस्तूरीलाई गुणस्तरीय खाना चाहिन्छ भन्ने छैन,’ कश्मीर कस्तूरी मृग पहिचान गरेका सिंहले थपे । भाले कस्तूरीको दाह्रा हुन्छ भने नाभीमा झन्डै दाँते ओखर जत्रो आकारको बिना (कस्तूरी) हुन्छ । त्यसकै लागि यिनको चोरी सिकार हुने गरेको छ । भालेमा मात्र बिना हुन्छ । त्यो सुगन्धित हुन्छ । त्यो नै कस्तूरीको मुख्य आकर्षण हो । उच्च भागमा बस्ने भएकाले यिनलाई पासोमा पारेर मार्ने गरिएको छ । व्यावसायिक पालन खुला भएपछि अवैध चोरी रोकिने सरकारको अपेक्षा छ । सबभन्दा बढी सगरमाथा क्षेत्रमा अवैध चोरी हुने गरेको छ ।

 

Page 11
अर्थ वाणिज्य

‘पुनर्निर्माण छिटो सक्नुस्’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको बाँकी काम छिटो सक्न निर्देशन दिएका छन् । बालुवाटारमा शुक्रबार बसेको राष्ट्रिय परामर्श परिषद्को पाँचौं बैठकमा प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा देखिएका समस्या समाधान गर्दै द्रुत गतिमा काम अघि बढाउन प्राधिकरणलाई निर्देशन दिएका हुन् । ‘कार्यप्रगति सन्तोषजनक छ,’ उनले भने, ‘बाँकी काम द्रुत गतिमा अघि बढोस् ।’
परामर्श परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपालको पुनर्निर्माण तथा विपद्को क्षेत्रमा काम गरेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिले आफूसँगको भेटमा पुनर्निर्माणमा नेपालले हासिल गरेको प्रगति अनुकरणीय भन्ने गरेको बैठकमा बताएका थिए । बैठकमा सांसद अग्नि सापकोटाले धरहरा उठ्दै गरेकाले थप आशा जगाएको धारणा राखे । स्थानीय तहसँग समन्वय गरी गुनासो सम्बोधन गर्न, सम्पदा, पुस्तकालय र विश्वविद्यालय पुनर्निर्माणमा जोड दिन उनले सुझाए ।
निजी आवास पुनर्निर्माणमा ओखलढुंगा अग्रस्थानमा रहेको बताउँदै सांसद यज्ञराज सुनुवारले एकीकृत बस्ती पुनर्निर्माणमा आकर्षण बढाउन सरकारले पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने बताए । भक्तपुरको कला संग्रहालय नेपाली शैलीमा बनाउन सहयोग गर्न प्राधिकरणलाई आग्रह गर्दै निजी आवास पुनर्निर्माणको अनुदान र सहुलियत ऋण बढाउन सांसद प्रेम सुवालले आग्रह गरे । उक्त अवसरमा सांसद विरोध खतिवडाले प्रबलीकरण र स्वास्थ्य संस्था पुनर्निर्माणको संख्या कम भएकामा चिन्ता व्यक्त गरे ।

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणअन्तर्गत ६२ प्रतिशत काम सकिएको बताए । २५ प्रतिशत पुनर्निर्माण जारी रहेको र १७ प्रतिशत पुनर्निर्माण सुरु हुन बाँकी रहेको उनले जानकारी दिए ।
२१ हजार गुनासो थप
यसैबीच प्राधिकरणले २१ हजार ६ सय गुनासो थप गरेको छ । बुधबार बसेको प्राधिकरण कार्यकारी समिति बैठकले गुनासोकर्ता थप्ने निर्णय गरेको हो । प्राधिकरणले तोकेका मापदण्डका आधारमा विश्लेषण गरी पुनर्निर्माण र प्रबलीकरण लाभग्राही तथा गैरलाभग्राही कायम गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । यसअघि तीन पटक प्राधिकरणको कार्यकारी समिति बैठकले १ लाख १३ हजार गुनासो सम्बोधनको नतिजा निकालेको थियो ।
त्यसमा ११ हजार ५ सय ९९ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही र ५ हजार ६ सय ८५ गुनासोकर्ता प्रबलीकरण लाभग्राही कायम भएका थिए । ‘प्राधिकरणको निर्णयमा चित्त नबुझ्ने लाभग्राहीले पुनरावेदन समितिमा निवेदन दिन पाउने व्यवस्था छ,’ घिमिरेले भने,
‘१५ सय २० उजुरीको
पुनरावेदन समितिले फैसला पनि गरिसकेको छ ।’

अर्थ वाणिज्य

रेलमा अवरोध पुर्‍याउनेलाई जरिवानै जरिवाना

राष्ट्रिय सभामा पेस गरिएको रेल विधेयक संसद्मा सैद्धान्तिक छलफल भएपछि राष्ट्रिय सभाको विधान समितिमा पठाइनेछ
- विमल खतिवडा

(काठमाडौं) - सरकारले नेपालमा रेलवे सञ्चालनलाई व्यवस्थित गर्न जेलभन्दा जरिवानालाई प्राथमिकता दिने कानुन बनाउने तयारी गरेको छ । रेलवेलाई व्यवस्थित एवं सुरक्षित गर्न बनेको विधेयकलाई जरिवानै जरिवानाको प्रावधान राखेर राष्ट्रिय सभामा पेस गरिएको छ । विधेयक संसद्मा सैद्धान्तिक छलफल भएपछि राष्ट्रिय सभाको विधान समितिमा पठाइनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेको विधेयकमा रेल कब्जा गरी वा कुनै किसिमले नोक्सानी पुर्‍याएमा कसुर गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान राखिएको छ । कसैले रेलभित्र पसी यात्रुलाई अनावश्यक झन्झट दिएमा २० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
रेलवेका कर्मचारी वा यात्रुसँग झगडा, रेलभित्र होहल्ला, गालीगलौज वा अश्लील र अपमानजनक शब्द प्रयोग गरे कसुर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । रेलवेका कर्मचारीलाई आफ्नो पदीय कर्तव्य पालना गर्न रोक्ने र वा वाधा अवरोध सिर्जना गर्ने काम गरे छ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । मस्यौदामा जेल सजायभन्दा जरिवानामा बढी जोड दिइएको छ ।
ससाना गल्तीमा धेरै जरिवाना राखिएको छ । बोर्डको अधिकारप्राप्त व्यक्तिबाहेक कसैले अत्यावश्यक कारण नभई रेलवेको प्रयोजनका
लागि जडित कुनै सञ्चार उपकरण प्रयोगमा हस्तक्षेप गरे छ महिना कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । कसैले रेलवे वा रेलको निसाना, बत्ती लुकाउने, चलाउने, झिक्ने, फरक गरी देखाउने, बदल्ने, मेट्ने, हटाउने, खुर्किने जस्ता दुर्घटना गराउने खालका कार्य गरे त्यस्तालाई सात वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । नियमअनुसार चालक र सहचालकले अनुमतिपत्र नलिई रेल चलाउन पाइने छैन । चलाएमा छ महिना कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
बोर्डको अनुमतिबिना टिकट बिक्री वा अधिकारपत्र वितरण गरे २ लाखसम्म जरिवाना गराइनेछ । कसैले रेलवेको सम्पत्ति चोरी गरेमा, बिगारेमा वा अन्य कुनै कारणले हानिनोक्सानी पुर्‍याए पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । मस्यौदाको कसुर तथा सजायअन्तर्गत २१ बुँदामा जरिवानासहितको सजाय तोकिएको छ । रेलमा धूलो, यात्रीमाथि फोहोर अन्य कुनै वस्तु फाल्ने गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना गराइनेछ ।
मादक तथा लागू पदार्थ सेवन गरी रेल चलाए एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ । रेलमा आगो लगाउन वा विस्फोटक पदार्थ ओछ्याई सेवा अवरुद्ध गर्ने गरी कुनै डरत्रास, भय देखाई बन्द गर्न वा कुनै किसिमबाट रेलवे अवरुद्ध गराई, यात्रीको आवागमनमा बाधा पुर्‍याई कसैको मृत्यु भए कानुनबमोजिम ज्यान मारेसरह सजाय हुनेछ । ज्यान नमरेको भए १० वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
कर्मचारीलाई पनि सजाय
मस्यौदाअनुसार गुडिरहेको रेल बिनाकारण रोक्ने, रेल चलाउन अटेर गर्ने वा चलाउन नदिई अवरोध गर्ने, लापरबाही गरेर रेलवेको सम्पत्तिमा हानिनोक्सानी पुर्‍याए, रेलवेका तर्फबाट कागजात वा विवरण झूटो बनाए र कार्यालय समयमा मादक पदार्थ सेवन गरे फरकफरक किसिमको दण्ड सजाय हुने उल्लेख छ । कर्मचारीलाई बढीमा पाँच वर्ष जेल र २ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
भारतको जयनगनरदेखि जनकपुर–कुर्था खण्डमा माघभित्र रेल सञ्चालनमा आउँदै छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) सकिएको छ । बाराको निजगढ–हेटौंडा–भरतपुर हुँदै नवलपरासी तमसरिया खण्डको १३६ किमिको डीपीआर बाँकी छ । सरकारले चालु आवमा रेल, मेट्रो रेल तथा मोनो रेलका लागि ७ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
विधेयकमा प्रस्तावित प्रावधानअनुसारको कानुन बने रेलवे कम्पनी र रेलवे विभाग नरहने र रेलवे बोर्ड बन्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । रेलवे बोर्डको अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहनेछन् । ‘कसैले दुर्घटना नगराउन् भनेर बढी दण्ड सजाय तोकेर विधेयक बनाइएको हो,’ उनले भने ।

 

अर्थ वाणिज्य

जोगबनीबाट फेरि आयात निर्यात ठप्प

- कान्तिपुर संवाददाता

विराटनगर (कास)– भारतको अररिया जिल्ला प्रशासनले मिरगन्ज पुल मर्मत गर्ने भन्दै ढुवानीका साधन चल्न रोक लगाएको छ । बिहीबारदेखि आयात–निर्यात ठप्प भएको छ । पुलबाट साना सवारी साधन मात्र गुड्न दिइएको छ ।
अररिया जिल्ला प्रशासनले पुस २४ देखि माघ ६ गतेसम्म पुल मर्मत गर्ने सूचना सार्वजनिक गरेको छ । यसअघि पुस ३ देखि ११ सम्म मर्मत गर्ने भन्दै ढुवानी साधन गुड्न दिइएको थिएन । जोगबनी नाकाबाट दैनिक सरदर अढाई सय मालवाहक साधन भित्रिन्छन् । ०७४ साउन अन्तिम साताको बाढीले पुलको पूर्वतिरको पिलर धस्सिएको थियो । त्यस बेला अढाई महिना सवारी अवागमन ठप्प भएको थियो । करिब सय किलोमिटर घुमाउरो बाटो भारतको भीमनगर हुँदै सुनसरीको भन्टाबारी नाकाबाट मालसामान ल्याइएको थियो ।
भारत तथा तेस्रो मुलुकबाट तयारी वस्तु र औद्योगिक कच्चापदार्थ लिएर आएका ढुवानीका साधन बथनादेखि फारबिसगन्जसम्म अलपत्र परेको भन्सार एजेन्ट संघका उपाध्यक्ष नवल उपाध्यायले बताए । विराटनगर भन्सारले दैनिक सरदर १५ करोड राजस्व असुली गर्दै आएको थियो । अब १२ दिनसम्म राजस्व असुली ठप्प हुनेछ । पुसमा ३ अर्ब ८७ करोड २१ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको थियो । तर पटकपटकको आयातनिर्यात बन्दले ५० प्रतिशत मात्र राजस्व असुली भएको भन्सारको तथ्यांक छ । बथनाहबाट डाइभर्ट गरेर भन्टाबारी नाकाबाट आयात–निर्यात गर्न प्राविधिक र ढुवानी लागतका कारण सम्भव नहुने उद्योगी व्यवसायीको भनाइ छ ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बाढीले भासिएको पुलमा पटकपटक समस्या आइरहे पनि नयाँ पुल निर्माणमा भारतीय पक्षले बेवास्ता गर्दै आएको बताए ।

Page 12
अर्थ वाणिज्य

रोकियो सडक विस्तार

- कान्तिपुर संवाददाता

नवलपरासी (कास)– बुटवल–नारायणगढ सडक खण्ड चार लेनको बनाउँदा काटिने रुख स्थानीय सामुदायिक वन उपभोक्ता समूहले पाउने वा वन कार्यालयले लिने भन्ने विवाद बढेपछि काम रोकिएको छ । वन उपभोक्ता समूहले रुख काट्न नदिएपछि सडक विस्तार मंगलबारबाटै रोकिएको छ । सडक विस्तारका क्रममा ४६ हजार २ सय ९४ रुख काट्नुपर्नेछ ।
वन विभागले पत्र पठाएर सडक फराकिलो पार्न अनुमति दिएपछि मंगलबार डिभिजन सडक कार्यालय नवलपरासीले कटान सुरु गरेको थियो । नवलपरासी खण्डमा पहिलो चरणमा काटिने करिब ४६ हजार रुख आफूहरूले पाउनुपर्ने उपभोक्ताको माग छ । वन मन्त्रालयले सडक क्षेत्रभित्रका रुख नेपाल सरकारको हुने भएकाले उपभोक्ता समितिलाई दिन नसकिने जनाएको छ । ‘वर्षौंदेखि वन जोगाउने हामी, अहिले काटिने रुख वन कार्यालय, कसरी हुन्छ ?’ पूर्वपश्चिम राजमार्ग अन्तर्गत लोकाह जंगलका रुख मंगलबार काट्न सुरु भएको थियो । कावासोती नगरपालिका–२ को शिव सामुदायिक वन उपभोक्ता समिति र स्थानिय बासिन्दा काटिएका सबै रुख उपभोक्ता समूहकै हुनुपर्ने र त्यसो नगरिए रुख काट्न नदिने भन्दै विरोधमा उत्रिएका थिए ।

 

अर्थ वाणिज्य

पप्पुले छाडेपछि पुलको काम धमाधम

- कान्तिपुर संवाददाता

(सिरहा) - तराई–मधेसको लाइफ लाइन मानिने हुलाकी सडकअन्तर्गत सिरहा–सप्तरी जोड्ने बलान नदी पुल र सिरहा–धनुषा जोड्ने कमला नदी पुल निर्माण सुरु भएको छ । पुरानो निर्माण कम्पनीसँगको ठेक्का हटाएर साझेदार कम्पनीकै ‘लिड’ पार्टनरलाई जिम्मा दिएपछि ती दुवै नदीको पुल निर्माण अघि बढेको हो ।
यसअघि दुवै पुलको ठेक्का पप्पु–लुम्बिनी र पप्पु–शर्मा जेभी कन्स्ट्रक्सनले लिएका थिए । ०६८ सालमै शिलान्यास भई ती कम्पनीले काम सुरु गरे पनि आठ वर्ष बित्दासमेत पुल अधुरै छाडेपछि निर्माणको जिम्मा साझेदार कम्पनीकै लिड पार्टनरलाई दिइएको हो । कमला नदीको पुल निर्माण गर्न ०६८ जेठ ३१ मा सरकार र पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लख रुपैयाँ लागतमा र बलान नदी पुल बनाउन २४ करोड ६२ लाख ८३ हजार रुपैयाँमा सम्झौता भएको थियो । पटकपटक म्याद थपेर ८ वर्ष बितिसक्दासमेत पुल निर्माण हुन नसकेपछि पप्पु कन्स्ट्रक्सनलाई हटाइएको हुलाकी सडक आयोजना कार्यालय जनकपुरले जनाएको छ ।
कार्यालयका अनुसार पप्पुलाई हटाएपछि साझेदार लिड पार्टनर लुम्बिनी बिल्डर्स एक्लैले कमला नदीमा गत असोज १ देखि पुल निर्माण थालेको छ । यता बलान नदीमा ०७५ चैतदेखि शर्मा एन्ड कम्पनीले काम गरिरहेको छ । कमला नदी पुलमा ०७६ असोज १ देखि लुम्बनी बिल्डर्स र बलान नदी पुलमा ०७५ चैतदेखि शर्मा एन्ड कम्पनीले निर्माण थालेको हुलाकी सडक आयोजना कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेन्द्र दासले जानकारी दिए । असार मसान्तभित्रै निर्माण सक्ने गरी काम अघि बढाइएको ठेकेदार कम्पनीले जनाएको छ । बलान नदी पुल ४ सय ७० मिटर लम्बाइ र ८ दशमलव ९ मिटर चौडाइको हुनेछ । ठेकेदार कम्पनीले यो पुलमा ३ वटा स्ल्याबको काम सकिसकेको छ । अन्य स्ल्याबमा गडर र पायरको काम भइरहेको छ । थपिएको समयमै सक्ने गरी काम भइरहेको प्रोजेक्ट म्यानेजर धनपति भुसालले जानकारी दिए ।
४ सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको कमला नदीको पुल १२ एस्पानको छ । जसमा तीन वटा ढलान भइसकेको र अरू एस्पानका पिलरको काम भइरहेको ठेकेदार कम्पनीको भनाइ छ । पप्पुले आधा मात्र बनाएर अलपत्र छाडेपछि सिरहा र सप्तरीका तीन दर्जन गाउँका बासिन्दाले बलान खोला तर्न सास्ती बेहोर्दै आएका थिए ।
हिउँदमा जसोतसो खोला वारपार गरे पनि वर्षामा पानीको बहाव बढी हुँदा ती गाउँबीच आवतजावत बन्द हुन्थ्यो । नयाँ ठेकेदार कम्पनीले अधुरो पुल निर्माण अघि बढाएपछि सिरहा र सप्तरी दुवै गाउँका स्थानीय खुसी छन् । ‘नयाँ कम्पनीले काम धमाधम गरेकाले हामीलाई पुल बन्छ भन्ने आशा जागेको छ,’ सिरहा कल्याणपुरका ६१ वर्षीय रामविलास ठाकुरले भने ।

अर्थ वाणिज्य

म्याद गुजारेर चिसोमै पिच

कालोपत्रेका लागि २५ डिग्री तापक्रम चाहिन्छ तर अहिले परेवाडाँडाको तापक्रम त्यति छैन
- आश गुरुङ
लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडा हाँडेटारमा सडक पिच उप्किएपछि पुनः कालोपत्रेको तयारी गरिँदै । तस्बिर ः आश/कान्तिपुर

(लमजुङ) - संघीय सरकारले आर्थिक वर्ष ०७५/०७६ मा सुन्दरबजार नगरपालिका–२ परेवाडाँडा हाँडेटारको सडक निर्माणका लागि एक करोड बजेट छुट्यायो । डिभिजन सडक कार्यालय दमौलीले गत वर्षको माघतिर टेन्डर आह्वान गर्‍यो । फागुनतिर निर्माण व्यवसायीले टेन्डर हाले । निर्माणको जिम्मा भ्याटसहित ८४ लाख ९६ हजार ७ सय ८६ रुपैयाँ ३४ पैसामा वाइल्ड स्टोन कम्पनी तनहुँले लियो ।
निर्माण सक्नुपर्ने म्याद गत साउन २ सम्म थियो । सडकको कालोपत्रे भने चिसो मौसममा हालै मात्र गर्न थालिएको छ । निर्माण सक्नुपर्ने मिति ५ महिनाअघि नै सकिए पनि निर्माणको म्याद थपिएको छैन । सडक निर्माण भइरहेको ठाउँमा कालोपत्रे नमिलेको, राम्रो नभएको, अलकत्रा कतै धेरै त कतै थोरै हालेको स्थानीयको गुनासो छ । रोलरले ग्राभेल नपेलिकन कालोपत्रे गरिएको स्थानीय कालुराम पाण्डेले बताए । ‘यो चिसो मौसम हो । चिसोमा काम नगर्नू भन्दा पनि मान्दैनन् । राम्रोसँग गर्नुभन्दा पनि काम गर्ने तिमी कि हामी भन्छन्,’ उनले भने, ‘कालोपत्रे गरिएको कुनै ठाउँ यस्तो पनि छ– खुट्टाले कोट्याए जमिन देखिन्छ ।’ कालोपत्रे उप्किएको भन्दै स्थानीयले गुनासो गरेपछि उक्त ठाउँमा पुन कालोपत्रे गरिएको छ ।
‘पिच सडक त सबैतिर एकनासै देखिनुपर्ने हो । यहाँ त कतै अलि चिल्लो देखिन्छ, कटै गिट्टी नै गिट्टी,’ स्थानीय मीना पाण्डे महतले भनिन्, ‘गिट्टी देखिएको ठाउँ छोप्न बालुवा फालिएको छ । पिच बाटोमा कहीँ बालुवा राख्नुपर्छ र ?’ कालोपत्रे सडक जस्तो बन्नुपर्ने हो, त्यस्तो नभएको सुन्दरबजार नगरपालिका उपप्रमुख ज्ञानु शाहले बताइन् । ‘हामी प्राविधिक होइनौं । तर सडक कस्तो राम्रो हुन्छ र राम्रो देखिन्छ अनि बलियो हुन्छ भन्ने कुरा अड्कल गर्न सक्छौं,’ उनले भनिन्, ‘सडक बन्यो भन्नलाई मात्रै बनाउने होइन । सडक राम्रो बनेको छैन ।’
मध्य पुसको चिसोमा कालोपत्रे गरिएपछि स्थानीय रुष्ट छन् । गर्मी समयमै कालोपत्रे सक्न भनेकामा चिसोमा आएर सुरु गरिएको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताए । हिँड्नेबित्तिकै कालोपत्रे उप्किने काम नगर्नु नै ठीक रहेको उनले बताए । सडक निर्माणको जिम्मा लिएको मुख्य व्यक्तिले नहेरेर अन्य व्यक्तिले काम हेर्दै आएको स्थानीयको भनाइ छ । टेन्डरमै कमजोरी हुँदा निर्माणसम्म कमजोरी भएको सुन्दरबजार नगरपालिका–२ का अध्यक्ष नवीनकुमार श्रेष्ठको भनाइ छ ।
कालोपत्रेका लागि २५ डिग्री तापक्रम चाहिन्छ । भुटेको चिप्स १ सय ३५ डिग्री तापक्रमभन्दा माथि चाहिन्छ । तर अहिले उक्त क्षेत्रमा कालोपत्रे गर्न तापक्रम नपुग्ने डिभिजन सडक कार्यालय दमौलीका इन्जिनियर ठाकुर भण्डारीले बताए । निर्माण कम्पनीका प्रतिनिधि सुमित शाहीले केही ठाउँमा समस्या आएको स्विकारे । ‘केही ठाउँमा पिच नपुगेको गुनासो छ । त्यस्तो ठाउँमा पुनः पिच गरेका छौं । नमिलेको ठाउँमा मिलाएका छौं,’ उनले भने ।

अर्थ वाणिज्य

नेपालमा भित्रियो पार्टी बस

बसभित्र सोफा शैलीमा दुईतिर काउच राखिएको छ, जहाँ एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन्
- कान्तिपुर संवाददाता
हालै नेपाल ल्याइएको पार्टी बस र त्यसको इन्टेरियर । तस्बिर सौजन्य ः रेस नेपाल

 

काठमाडौं (कास)– डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाई, डान्स फ्लोर, एयर कन्डिसन, शौचालय आदिको सुविधा रहेको बसमा यात्रा गर्नुभएको छ ? छैन भने अनुभव लिन तयार हुनुहोस् । यस्तै खाले अन्तर्क्रियात्मक गतिविधि समेटिएको पार्टी बस पहिलो पटक काठमाडौं भित्रिएको छ ।
भारतको टाटा मोटर्सले उत्पादन गरेको बसको च्यासिसलाई पार्टी गर्न मिल्ने थलोका रूपमा परिमार्जन गरिएको छ । यहाँभित्र सिट छैनन् । सोफा शैलीमा दुईतिर काउच राखिएको छ, जहाँ एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन् । बसभित्रै मदिराको सुविधा र खाना तताउने उपकरणसहितको बार छ । त्यससँगै अगाडि एक जना डिजे हुन्छन् । संगीतको आनन्दमा मदिरा तथा कफी पिउँदै यात्रा गर्न सकिन्छ ।
रियल इकोनोमिक सस्टिनेबल सोसाइटी नेपाल (रेस नेपाल) ले यो बस एक साताभित्रै व्यावसायिक रूपमा सञ्चालनमा ल्याउँदै छ । पार्टी राइड, एयरपोर्ट पिकअप, घुमफिर, पिकनिक, विवाह, निजी कार्यक्रम आदिमा यो बस प्रयोग गर्न सकिनेछ । बस प्रयोग गर्न चाहनेले प्रति तीन घण्टाको ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने रेस नेपालले जानकारी दिएको छ । ‘मुख्य गरी बिहे र पर्यटकका लागि यो बस उपयुक्त छ,’ कम्पनीका निर्देशक अशोक शर्माले भने ।
भ्रमण वर्षको अवसर पारेर बस सञ्चालनमा ल्याइएको उनले बताए । ‘हाम्रो उद्देश्य आम मानिसलाई विभिन्न खाले मनोरञ्जन प्रदान गर्दै देशका विभिन्न ठाउँको यात्रा गराउने हो,’ उनले भने । प्रतिबस २ करोड हाराहारी लागत परेको उनले जानकारी दिए ।

अर्थ वाणिज्य

पञ्चकन्याका दुई नयाँ पाइप

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पञ्चकन्या ग्रुपले सीपीभीसीका नयाँ ग्रेडका फ्लेम प्रो तथा फिटिङ्स पाइप भित्र्याएको छ । फ्लेम प्रो पाइपमा आगो प्रतिरोधी, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यूभी रेसिस्टेन्टजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । फिटिङ्स पाइपमा तातोचिसो पानीका लागि अनुकूल, पारदर्शीलगायत विशेषता छन् । 

अर्थ वाणिज्य

व्यावसायिक पहलको अध्यक्षमा जोशी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रिय व्यावसायिक पहलको अध्यक्षमा कुशकुमार जोशी चुनिएका छन् । पहलको १३औं वार्षिक साधारणसभाले जोशीलाई निर्विरोध निर्वाचित गरेको हो । सभाले जोशीसहित २२ जनाको कार्यसमिति चयन गरेको छ । 

अर्थ वाणिज्य

आईपीएसको कारोबार सीमा थप

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीको मोबाइल एप्लिकेसनमार्फत प्रतिमहिना गरिने कारोबारको अधिकतम सीमालाई १ लाख रुपैयाँबाट बढाएर २ लाख रुपैयाँ कायम गरिएको छ । थपिएको कारोबार सीमाले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई बैंक खाताबाट गरिने डिजिटल भुक्तानी कारोबार गर्न थप सुविधा पुग्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अर्थ वाणिज्य

बुटवलको १८५ लाभांश

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– बुटवल पावर कम्पनीले आफ्ना सेयरधनीलाई १८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको २७औं वार्षिक साधारणसभाले नगद लाभांशसहित १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

अर्थ वाणिज्य

विद्याश्रमलाई महालक्ष्मीको सहयोग

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– महालक्ष्मी विकास बैंकले अछामस्थित वैद्यनाथ वेद विद्याश्रमलाई १ लाख ५० हजार रुपैयाँ नगद सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।

अर्थ वाणिज्य

एनआईसीको सपोर्ट सेवा चौबिसै घण्टा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– एनआईसी एसिया बैंकले ग्राहक सपोर्ट सेवालाई चौबिसै घण्टा सञ्चालनमा ल्याएको छ । ०७१ सालदेखि सञ्चालनमा रहेको यस्तो सेवाले ग्राहकलाई कुनै पनि सहायता आवश्यक परेको खण्डमा गुनासो सुनुवाइ गर्नुका साथै आवश्यक सूचनासमेत उपलब्ध गराउनेछ ।

अर्थ वाणिज्य

नेपाल बैंकको १० प्रतिशत लाभांश

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । शुक्रबार सम्पन्न ६०औं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो । 

अर्थ वाणिज्य

कैलाशको १६ प्रतिशत बोनस सेयर

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कैलाश विकास बैंकले सेयरधनीहरूलाई २.७७ प्रतिशत नगद लाभांश र १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न बैंकको २६औं वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।

Page 13
समाचार

इराकबाट फर्काइए ३० नेपाली

- होम कार्की

(काठमाडौं) - इराकको बग्दादस्थित अमेरिकी दूतावास परिसरभित्र कार्यरत ३० जना नेपालीलाई स्वदेश फर्काइएको छ । ग्रिन जोनभित्र रहेको दूतावासमा सुरक्षा खतरा बढेपछि अमेरिकी कम्पनीले नेपालीलाई फिर्ता पठाएको हो ।
अमेरिकी दूतावास र सैन्य क्याम्प (बग्दाद एम्बेसी कम्पाउन्ड) मा कामदार आपूर्ति गर्ने कम्पनीहरूले विदेशी कामदारलाई स्वदेश फर्काइरहेका छन् । ‘सुरक्षा खतरा बढेपछि कम्पनीले हामीलाई घर फर्कन इच्छुक हो/होइन सोधेको थियो, मैले तुरुन्तै नाम दिएँ,’ काठमाडौं आइपुगेका सर्लाहीका तिलक परियारले भने, ‘संयोगले फिर्ने सूचीमा परिहालें ।’
परिस्थितिअनुकूल भएपछि बोलाउने भनिएको उनले बताए । कम्पनीले अवस्था हेरेर पठाउने र बोलाउने प्रक्रिया चलिरहन्छ । ‘वर्षमा सामान्यतः चार पटकसम्म बिदा पाइन्छ, तर त्रिभुवन विमानस्थलबाट सहजै जान नपाउने भएकाले फर्किएको थिइनँ,’ उनले भने । ६ वर्षदेखि अमेरिकी दूतावास परिसरभित्र प्लम्बरको काम गर्दै आएका उनका अनुसार अमेरिकी दूतावास इरानबाट मात्रै नभई इराककै विद्रोही समूहको पनि निशानामा छ । ‘कतिखेर के हुन्छ भनेर टुंगो नहुने । दूतावासले सुरक्षाको सबै उपायहरू अपनाएको हुँदा भित्रै बम/बारुद पड्किने त होइन, तैपनि कम्पनीले जोखिम लिन चाहेन,’ उनले भने ।
कामदार पठाउन होल्ड
इरान–अमेरिकाबीच तत्काल युद्ध नहुने परिस्थिति बन्दै गएपछि इराकमा रहेको अन्तर्राष्ट्रिय कम्पनीले आफ्ना कामदार स्वदेश पठाउने कार्यलाई स्थगन गरेको छ । अमेरिकाबाट मारिएका इराकी पूर्वराष्ट्रपति सद्दाम हुसेनको गृहक्षेत्र सलादिन प्रान्तमा रहेको वलदा अमेरिकी सैन्य क्याम्पमा कार्यरत ३० नेपालीलाई अर्बिलमा ल्याएर राखिएको थियो । ‘इरानले आक्रमण गर्ने सूचना पाएपछि अमेरिकी सेनालाई सुरक्षित मानिएको अलअसाद एयरबेस र अर्बिल एयरबेसमा सारिएको थियो । हामीलाई पनि बुधबारै अर्बिलकै होटलमा ल्याएर राखिएको हो,’ एक नेपालीले कान्तिपुरलाई भने ।
इरानको मिसाइल आक्रमणमा परेको अलअसाद एयरबेस क्याम्पमा कार्यरत कामदारलाई समेत पठाइएको छैन । अलअसादमा नौ नेपाली कार्यरत छन् । ‘जतिखेर पनि जानुपर्छ भन्दै सूचना आएको थियो, हामीले नेपाल जाने सोच बनाइसकेका थियौं,’
झापाका दीपक क्षेत्रीले भने,‘अहिलेचाहिँ ड्युटीमा छौं । बुलेटप्रुफ ज्याकेट र टोपी लगाउन दिइएको छ ।’
बग्दादकै ग्रिन जोन (अन्तर्राष्ट्रिय क्षेत्र) मा कार्यरत कम्पनीहरूले कामदारका नामावली संकलन गरे पनि कसैलाई फर्काइएको छैन । ‘इच्छुकको नाम टिपे, मैले बुधबारै टिपाएको हुँ । अहिलेसम्म फर्काएनन्,’ रोल्पाका सुकबहादुर घलेले भने, ‘कम्पनीहरू पर्ख र हेरको
स्थितिमा छन् ।’
त्रास हट्यो
काभ्रेकी जेसिका तामाङ शुक्रबार १२ बजे अर्बिलको होलीसारदामस्थित होलीनवरज हलमा पुग्दा झन्डै दुई सयभन्दा बढी नेपाली थिए । नेपाल मगर संघ कुर्दिस्तानको सांस्कृतिक कार्यक्रममा पुग्दा उनले नसोचेको माहोल पाएकी थिइन् । ‘खतरा छ भन्दै नेपालबाट फोन आइरहेको थियो । यहाँ हामीलाई सहजै छ । कार्यक्रममा आइपुगेका सबै साथी विन्दास देखिन्थे,’ उनले भनिन्, ‘एक सातादेखि तनाव थियो, अब डर भाग्यो ।’ दुई वर्षदेखि अर्बिलमा उनी काम गर्ने होटलमा इरानी, इराकी र नेपालीहरू छन् । बेनी–३ म्याग्दीका मेघबहादुर गर्बुजा अढाइ घण्टाको यात्रा गरेर दोहकबाट अर्बिल आइपुगेका थिए । ‘बाटोमा कुनै सुरक्षा खतरा भएन,’ उनले भने । उनीसहित ७० जना नेपाली कामदार एउटै कम्पनीमा कार्यरत छन् । दोहकमा मात्रै झन्डै २ हजार नेपाली छन् । ती सबै एजेन्टमार्फत पुगेका हुन् ।

समाचार

मापदण्डविपरीत एम्बुलेन्स

- अर्जुन शाह

(धनगढी) - सामाजिक विकास मन्त्रालयले वितरण गरेका एम्बुलेन्स मापदण्डअनुसार नरहेको खुलेको छ । मन्त्रालयले ‘ख’ श्रेणीका सुविधायुक्त दाबी गरे पनि एम्बुलेन्स सञ्चालन निर्देशिका–०७३ ले तोकेअनुसारका सुविधा छैनन् । खरिदमा आर्थिक अनियमितता भएको आशंकासमेत गरिएको छ ।
निर्देशिकाअनुसार ‘ख’ वर्गको एम्बुलेन्समा सबै आकस्मिक उपकरणसँगै ट्राभलिङ भेन्टिलेटर, अटोमेटेड एक्सटर्नल डिफ्राइब्रिलेटर, चेस्ट ड्रेनेज ट्युब र हेमोस्टेटिक सेटसँगै ‘क’ वर्गमा उल्लेख भएका स्टेथेस्कोप, रक्तचाप नाप्ने मेसिन, टर्चलाइट, जिब्रो थिच्नेलगायत उपकरण हुनुपर्छ । धुने उपकरण, ह्वीलचियर र ट्रली, रेडियो सञ्चार, फोरजी भएको मोबाइल उपकरणसमेत ‘ख’ श्रेणीको एम्बुलेन्समा आवश्यक छ । यो श्रेणीको एम्बुलेन्समा आकस्मिक चिकित्सा तालिम पाएका दक्ष जनशक्ति अनिवार्य हुनुका साथै चालकलाई पनि आकस्मिक उपचार तालिम दिइएको हुनुपर्ने नियम छ । प्रदेशले उपलब्ध गराएको एम्बुलेन्स चलाउँदै आएका अछामका चालक दिनेश थापाले भने, ‘अधिकतर उपकरण छैनन्, तालिम पनि दिइएको छैन ।’ एम्बुलेन्सको ब्रेकमा पनि कमजोरी रहेको उनले बताए । सेती प्रादेशिक अस्पतालले पाएको एम्बुलेन्स नचलाई
राखेको छ । यस क्षेत्रका स्वास्थ्य संस्थामा ‘ग’ वर्गका एम्बुलेन्स मात्र छन् । चालकलाई ‘ग’ वर्गका एम्बुलेन्स चलाउन कम्तीमा तीन साताको तालिम चाहिने सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकर विष्टले बताए । एम्बुलेन्स हस्तान्तरण गर्ने बेला मन्त्रालयले सात दिनको तालिम
दिएको थियो ।
मन्त्रालयद्वारा वितरित एम्बुलेन्सहरू पहाडी जिल्लामा सञ्चालन गर्न अनुपयुक्त रहेको चालकहरूले बताएका छन् । मोडहरूमा घुमाउन असहज, ब्रेक नलाग्ने, सुस्त गति भएकाले झन्झटिलो भएको उनीहरूको भनाइ छ । मन्त्रालयले किनेका १६ वटा एम्बुलेन्स चार महिना धनगढीमै थन्किए । गत कात्तिकमा नौ जिल्लाका जनप्रतिनिधिलाई हस्तान्तरण गरिएका हुन् । सिप्रदी ट्रेडिङले आपूर्ति गरेको प्रतिएम्बुलेन्स ३९ लाख ७ हजारका दरले मन्त्रालयले ६ करोड ३५ लाख २० हजार भुक्तानी गरेको जनाएको छ । एम्बुलेन्स १६ वटा निर्वाचन क्षेत्रका स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई सुविधासम्पन्न भनेर वितरण गरिएको थियो ।

Page 15
खेलकुद

सोखबाट मोडिँदै छ घोडचढी

- कुशल तिमल्सिना
गणेश घोडामा सवार खिलध्वज खड्का हाइजम्पमा प्रतिस्पर्धा गर्दै । इन्सेटमा महिलाको प्रदर्शनी खेल ।तस्बिर ः हेमन्त श्रेष्ठ/कान्तिपुर

(काठमाडौं) - घोडचढी अन्तर्राष्ट्रिय रूपमा ओलम्पिक खेल हो । सन् १९०० मा पहिलोपल्ट समावेश यो खेल सन् १९१२ यता सबै ग्रीष्मकालीन ओलम्पिकमा समावेश छ । नेपालमा केही वर्षयता यो खेललाई व्यावसायिक बनाउने प्रयास हुँदै छ । घोडचढीमा सयौं वर्षको इतिहास बोकेको नेपालमा यसलाई खेलको रूपमा विकास गर्न सकिएको छैन । धेरैको बुझाइमा नेपालमा घोडचढी खेल होइन सोख भन्ने छ ।
नेपालमा घोडचढी व्यावसायिक बन्न नसक्नुका केही कारण छन् । मुख्यतः यो खेल सर्वसाधारणको सहज पहुँचमा छैन । अहिलेसम्म नेपाली सेनामात्र घोडचढी खेलको पर्याय हो । प्रतियोगितामा नेपाली सेनाकै घोडा र खेलाडीको मात्र प्रयोग हुने गर्छ । उन्नत जातको घोडा जुटाउने, उसको पालनपोषण र साहसिक खेल भएकाले सबैको पहुँचमा पुर्‍याउन सम्भव पनि देखिन्न । यसलाई गल्फभन्दा पनि महँगो खेलका रूपमा लिइन्छ । खेलस्थलको समस्या पनि उस्तै छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्राविधिक कठिनाइ त्यस्तै छ ।
६ वर्षअघि स्थापना भएको नेपाल घोडचढी संघले अहिलेसम्म अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । अन्तर्राष्ट्रिय घोडचढी फेडेरेसनबाट मान्यता नपाएका कारण नेपाल ओलम्पिक कमिटीले पनि यसलाई आधिकारिकता दिएको छैन । त्यसैले विदेशी प्रतियोगितामा निमन्त्रणा आए पनि खेल्न जान नपाएको गुनासो संघको छ ।
संघको कार्यक्रमका रूपमा वर्षमा दुई राष्ट्रिय प्रतियोगिता आयोजना हुन्छन् । काठमाडौंमा आयोजना हुने राष्ट्रिय च्याम्पियनसिपको छैटौं संस्करण शुक्रबार टुँडिखेलमा सकियो । स्थापनाको आधा दशक अवधिमा पनि घोडचढी खेलप्रतिको आम मान्यता परिवर्तन भएको छैन ।
नेपालको हकमा घोडचढी सोख हो कि खेल ? भन्ने प्रश्नमा संघका अध्यक्ष रवि राजकर्णिकार भन्छन्, ‘अहिलेसम्म यो सोख नै हो । यो परम्परागत खेल हो ।’ नेपालका हिमाली र उत्तरी क्षेत्रमा आयोजना हुने विभिन्न मेला र राजधानीमा मनाइने घोडेजात्राले यसको संरक्षण गरिरहेको छ । अध्यक्ष राजकर्णिकार यसलाई व्यावसायिक बनाउने प्रयासमा रहेको बताउँछन् । उनले भने, ‘अन्तर्राष्ट्रिय मान्यता पाउन सकेका छैनौं । सायद यो वर्ष हामी फेडेरेसनसँग आबद्ध हुन्छौं, त्यसले हामीलाई व्यावसायिक गर्न मार्ग प्रशस्त गर्नेछ ।’
सन् २०११ मा नेपालले पहिलो दक्षिण एसियाली बिच खेलकुद (श्रीलंका) मा घोडचढीमा १ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको थियो । यसले अन्तर्राष्ट्रिय रूपमा नेपाली खेलाडीको क्षमता प्रदर्शित गर्‍यो । त्यसै बेलादेखि हो घोडचढीलाई खेलका रूपमा विकास गर्नुपर्ने आवाज उठेको । त्यति बेला नेपाली सेनाले सहभागिता जनाएको थियो । त्यसयता राष्ट्रिय संघ गठन भयो र नियमित कम्तीमा एउटा राष्ट्रिय प्रतियोगिता आयोजना हुन थाल्यो ।
‘अन्तर्राष्ट्रिय मान्यता पाएको भए हामीले अन्तर्राष्ट्रिय नियमअनुसार प्रशिक्षण र निर्णायकहरू तयार गर्न सक्थ्यौं । अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउन पाउथ्यौं । सर्वसाधारणलाई सेनामातहत खेलाडीका रूपमा उत्पादन गर्न सकिन्थ्यौं,’ अध्यक्ष राजकर्णिकारले थपे । नेपाली सेनाका हुद्दा खिलध्वज खड्का घोडचढीमा लागेको १५ वर्ष भइसक्यो । उनले दक्षिण एसियाली बिच खेलकुदमा नेपालका लागि टिम स्पर्धामा रजत र व्यक्तिगततर्फ कांस्य जितेका थिए ।
पहिलो अन्तर्राष्ट्रिय सहभागिताअघिसम्म उनीसहितका अन्य खेलाडी घोडेजात्राको प्रदर्शनी र ब्यारेकभित्रको खेलकुदमा सीमित थिए । ‘अहिलेसम्म हामीले यस खेललाई व्यावसायिक रूपमा प्रयोग गरेका छैनौं । हामी अन्तर्राष्ट्रियस्तरमा धेरैभन्दा धेरै प्रतियोगितामा नेपाल सहभागी होस् भन्ने चाहन्छौं,’ शनिबार हाइजम्पतर्फ स्वर्ण जितेका उनले भने, ‘हामीले विदेशमा खेलेर पदक जित्ने क्षमता यसअघि नै देखाइसकेका छौं । अब अरु अवसरको प्रतीक्षामा छौं ।’
सर्वसाधारणलाई घोडचढीमा आकर्षित गर्न हालै व्यक्तिगत प्रयासमा काठमाडौं उपत्यकामा दुई राइडर स्कुल सञ्चालनमा आएका छन् । गोकर्णमा एउटा स्कुल छ । अर्को ललितपुरको धापाखेलमा । धापाखेलका स्कुल सञ्चालक हुन्, संघका सह–कोषाध्यक्ष तथा राष्ट्रिय निर्णायक मोहम्मद फाजिल । असनका व्यापारी फाजिल घोडचढीका सौखिन हुन् । उनीसँग आफ्नै घोडा वा खेलाडीको अनुभव छैन । सोखका रूपमा घोडचढीमा प्रवेश गरेका उनी संघमा लागेर यसलाई व्यावसायिक बनाउने प्रयासमा छन् । उनका अनुसार संघले यस खेलको विस्तारका लागि आफ्ना प्रयासहरू निरन्तर अघि बढाइरहेको छ ।
‘हामीले संघलाई विस्तार गरिरहेका छौं । कास्कीपछि हुम्ला, जुम्लामा शाखा स्थापना गर्दै छौं । हुम्ला, जुम्ला, मुस्ताङ, रसुवालगायतका जिल्लामा हुने परम्परागत घोडचढीलाई संघबाट मान्यता दिन सुरु गरेका छौं । यसबाट सबैले आफ्नो महसुस गर्नेछन्,’ उनले थपे, ‘नेपालको सन्दर्भमा यसलाई व्यावसायिक बनाउन केही कठिनाइ छन् । दक्ष प्राविधिक र जनशक्ति छैन । मुख्य कुरा अन्तर्राष्ट्रिय मान्यता छैन ।’
कीर्तिमानबाट चुके खिलध्वज
नेपाल घोडचढी संघले नेपाली सेनासँग मिलेर आयोजना गरेको राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत खिलध्वज खड्का हाइजम्पतर्फ नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न चुकेका छन् । उनी सवार गणेश घोडाले ५ फिट ७ इन्च जम्प गर्दै स्वर्ण जितेको थियो । यस स्पर्धामा ५ फिट ९ इन्चको राष्ट्रिय कीर्तिमान छ । जुन अघिल्लो वर्ष पोखरामा नेपाल माउन्टेनरी स्पोर्ट्स फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा सेनाकै जमदार जगदीश घिसिङले कायम गरेका थिए । यसपल्ट मोटरसाइकल पुरस्कार राखिएको राष्ट्रिय कीर्तिमानका लागि खिलध्जवले प्रयास गरे, सफल भएनन् । हाइजम्पमा सम्मोहन घोडामा सवार रामबहादुर दाहाल र आकांक्षा घोडामा सवार सविनकुमार पोखरेलले क्रमशः रजत र कांस्य जिते ।
‘स्वर्ण जितिसकेपछि राष्ट्रिय कीर्तिमानको अवसर थियो । सुरुदेखि नै मेरो घोडा मानिरहेको थिएन । जबजस्त प्रयास गरेको थिएँ,’ कीर्तिमान कायम गर्न असफल भएपछि खिलध्वजले भने ।
अर्को विधा शो जम्पतर्फ देवकी घोडामा सवार योगबहादुर बस्नेतले स्वर्ण जिते । लमजुङ घोडामा सवार लालबहादुर कुँवरले रजत र सम्मोहन घोडामा सवार रामबहादुर दाहालले कांस्य जिते । टेन्ट पेगिङमा रुद्रबहादुर कार्की स्वर्णको हकदार बने । गोविन्दबहादुर खड्का रजत र लक्ष्मण रावल कांस्यमा सीमित भए । सबै विधामा स्वर्ण, रजत र कांस्य विजेताले जनही २०, १५ र १० हजार रुपैयाँ पुरस्कार पाए । प्रदर्शनी विधाको रूपमा ४ महिला खेलाडीसहित प्रतियोगितामा २६ राइडर सहभागी थिए । उनीहरू सबै सेनाका हुन् ।
अघिल्लो वर्ष जस्तै महिला राइडरले प्रदर्शनी विधाको रूपमा आफ्नो कौशल प्रदर्शन गरे । हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठले प्रोत्साहनस्वरुप जनही ५ हजार रुपैयाँ पुरस्कार पाए ।

खेलकुद

क्रिकेटको प्रारम्भिक टोली

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओमन र अमेरिकासम्मिलित आसन्न त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाली टोलीको बन्द प्रशिक्षण पोखरामा शनिबारखि हुनेछ ।
लोकेश बम पहिलोपल्ट राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गरिएका छन् । उनले पोखरा प्रिमियर लिगमा उत्कृष्ट व्याटिङ गरेका थिए । कप्तानबाट राजीनामा दिएपछि अन्तर्राष्ट्रिय आराममा रहेका पारस खड्काले पुनरागमन गरेका छन् । लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका सुवास खकुरेल पनि टिममा समेटिएका छन् ।
त्रिकोणात्मक शृंखला माघ २२ देखि २९ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । शृंखलामा सबै टिमले सबैसँग २–२ एकदिवसीय खेल खेल्नेछन् । नेपालले पहिलो खेल माघ २२ मा ओमान, २५ मा अमेरिका, २६ मा ओमान र २९ मा अमेरिकासँग खेल्नेछ ।

खेलकुद

एकअर्को टिममा सोमपाल र दीपेन्द्र

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी एभरेस्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणमा ‘ट्रेड’ मार्फत एक फ्रेन्चाइजबाट अर्कोमा गएका छन् । ट्रेडअनुरुप सोमपाल काठमाडौं किंग्स ११ बाट चितवन टाइगर्स तथा दीपेन्द्र चितवनबाट काठमाडौं किंग्स पुगेका छन् । ईपीएल आयोजकले ‘ए’ समूहको वर्गीकरणमा परेका खेलाडीलाई ‘ट्रेड’ गर्न पाउने प्रावधान ल्याएको थियो । त्यसमा दुई फ्रेन्चाइज टिमबीच खेलाडी बिक्री र खरिद गर्ने विषयमा सहमति हुनुपर्ने थियो । सोमपाल र दीपेन्द्रको ‘ट्रेड’ रकम दुवै टोलीले गोप्य राखेका छन् । जनवरी २ मा खुलेको ट्रेड विन्डो बिहीबार बन्द भएको थियो । त्यसमा दुई खेलाडीमात्र ट्रेडमा परेका थिए । ईपीएलले वर्गीकरण गरेकोमा १८ नेपाली खेलाडी थिए । फागुन १७ देखि चैत १ सम्म कीर्तिपुरमा हुने प्रतियोगिताका लागि ‘ए’ समूहमा नरहेका खेलाडीको रिलिज प्रक्रिया जनवरी ११–२३ सम्म खुल्नेछ । 

Page 16
खेलकुद

लिगको 'विज्ञान'

- हिमेश

(काठमाडौं) - नेपाली फुटबल इतिहासको एउटा बाक्लै अध्याय हो, ब्वाइज युनियन क्लब । त्रिपुरेश्वरको दशरथ रंगशाला छेउकै ब्वाइज युनियनबारे उल्लेख भएन भने नेपाली फुटबल इतिहास पूरा हुँदैन । यसको पारम्परिक जर्सी कस्तो छ, कसैलाई याद छ ? यसले पहेँलो जर्सी लगाउने गर्छ । जस्तो, ब्राजिली टिमले लगाउने गर्छ । विज्ञानराज शर्माले ब्वाइज युनियनबाट खेल्दा अहिले जस्तो बहुराष्ट्रिय कम्पनी ‘केल्मे’ को जर्सी थिएन, न त एडिडासकै ।
यो समय हो, ०३६ सालवरिपरिको । उनलाई एउटा घटना राम्रोसँग याद छ । त्यो हो, बाहुलाको भित्री गञ्जीलाई बेसार पानीमा डुबाएर पहेँलो जर्सी बनाएको । के त्यतिबेला सोचिएको थियो होला र कुनै दिन खेलाडीले राम्रा र महँगा जर्सी पनि लगाउने छन् भनेर ? अहिले त धेरैका लागि उनी ‘विज्ञान दाइ’ भए । नत्र यी विज्ञानराजले सानो छँदा आठ संस्करणको लिग खेले । कहिल्यै पनि पारिश्रमिक लिएनन् । लिएनन् भन्दा पनि पाएनन् । किनभने दिने चलन नै थिएन ।
बरु उल्टै उनले नै खर्च गरे होलान् । त्यतिबेला न सुविधा थियो, न त अवसर । तर एउटा तथ्य भने गज्जब थियो । त्यो थियो क्लबप्रतिको माया, समर्पण र समर्थन । जुन दिन ब्वाइज युनियनको खेल हुन्थ्यो, त्यतिबेला पूरा त्रिपुरेश्वर टोलको माहोल नै बेग्लै हुन्थ्यो । चहलपहल खुबै हुन्थ्यो । फुटबललाई माया गर्ने कसैले पनि सुँघेर अनुभव गर्नसक्थे, हावामा यो खेलको मोहकता । ‘ओहो, ती दिन पनि थिए र आज पनि छ,’ भावुक हुँदै सम्झन्छन् उनी ।
विज्ञान त्यतिबेला भर्खरको अल्लारे थिए । उनले २०३६ देखि ०४३ सालसम्म लगातार सहिद स्मारक लिग ‘ए’ डिभिजन खेले । सुरुमा खेल्दा उनी १६ वर्षका मात्र थिए । उनले पुलिसमा प्रवेश गर्नुअगाडि अन्तिम पटक लिग खेल्दाको वर्ष नेपाली फुटबलमा मनाङ मर्स्याङ्दीको उदय भएको समय थियो । त्यही संस्करणमा त हो, मनाङले पहिलोपल्ट ‘ए’ डिभिजन खेलेको । र, जितेको पनि । ब्वाइज युनियनले जम्माजम्मी एकपल्टै मात्र ‘ए’ डिभिजन जितेको छ । त्यो वर्ष हो, ०३२ साल । यसै वर्षदेखि लिग फुटबलको आधुनिक समय सुरु हुन्छ ।
मनाङको उदयपछि भने लिगको नवआधुनिक समय सुरु भएको मानिन्छ । विज्ञानराजलाई अन्तिम पटक लिग खेल्दा मनाङका मणि शाहविरुद्ध बराबरको टक्कर लिएको राम्रै सम्झना छ । मणि रहे अगाडि खेल्ने खेलाडी । विज्ञान भने पछाडि । त्यसो भनेको उनी ‘राइटब्याक’ को भूमिकामा खेल्ने खेलाडी हुन् । धिरेन्द्र प्रधानले यही ‘पोजिसन’ मा खेलेर नाम कमाए । उनको खेलजीवन ओरालो लाग्दालाग्दैको बेला विज्ञानराजले त्यही ‘पोजिसन’ मा आफ्नो परिचय बनाए ।
ब्वाइज युनियनले ०४० सालमा शुभजन्मोत्सव कप पनि जित्यो । अझै पनि ती दिन सम्झँदा भावुक हुने धेरै पाइन्छ नेपाली फुटबलमा । ब्वाइज युनियनबाट त्यो समय श्याम थापा खेल्थे । उनले भारतको पश्चिम बंगालबाट ल्याउँथे व्यावसायिक खेलाडी पनि । तर ब्वाइज युनियनले ०४० सालअगाडि कहिले पनि शुभजन्मोत्सव कपको प्रतिष्ठित उपाधि जित्न सकेन । यति बलियो टिमले किन उपाधि जित्न सक्दैन भन्ने कसैसँगै ठ्याक्कै उत्तर थिएन ।
यस्तोमा ०४० सालमा क्लबका मुख्य हर्ताकर्ता बोधबहादुर राउतले के निर्णय गरे भने भर्खर २० वर्ष टेकेका यिनै विज्ञानराजलाई क्लबको कप्तान बनाउने । उनी टिमकै सबैभन्दा कान्छा खेलाडी थिए । त्यसैले विज्ञानलाई अचम्मसँग कप्तानी दिइयो । सोच थियो, कोही वरिष्ठलाई कप्तानी दिँदा जित्न नसकेको स्थितिमा किन सबैभन्दा कनिष्ठलाई कप्तानी दिएर नहेर्ने ? भाग्य पो लाग्ने हो कि ? नभन्दै, त्यो वर्ष ब्वाइज युनियनले शुभजन्मोत्सव कप जित्यो, उनैको नेतृत्वमा ।
उनले जुन टिमको कप्तानी गरेका थिए । त्यस टिमका अरू सदस्य थिए, उनै श्याम थापादेखि इस्ट बंगाल र मोहन बगानका केही खेलाडी । अनि रूपकराज शर्मा, सुरेश पन्थी, अशोक केसीदेखि विदुर विष्टसम्म । त्यो ऐतिहासिक उपलब्धिपछि उनी लगत्तै प्रहरी सेवातिर लागे । ठीक त्यही बेला पुसिलले आफ्नो फुटबल टिम हटायो । डीबी लामा र शरदचन्द्र शाहबीचको व्यक्तित्व टकरावले महेन्द्र पुलिस क्लबको अस्तित्व मेटियो । माछापुच्छ्रे क्लबको नामले केही सातातिना प्रतियोगिता भने पुलिसले खेल्यो ।
महेन्द्र पुलिस क्लबले ०५० साता फेरि जन्म लियो । त्यसको पहिलो कप्तान थिए यिनै विज्ञानराज । एक वर्षजति खेलेपछि उनले फुटबलबाट संन्यास जस्तै लिए । त्यसबीच नेपाली राष्ट्रिय टिमबाट दसपल्ट खेले । सन् १९८६ को एसियाली खेलकुदमा जापानविरुद्ध डेब्यु गरे । सोलले त्यो एसियाली खेलकुदको आतिथ्यता गरेको थियो । फुटबलका खेल भने डेजोन सहरमा भएको थियो । उनको अन्तिम खेल भने इस्लामावादमा भएको चौथो दक्षिण एसियाली खेलकुदमा थियो । त्यो भारतविरुद्ध ।
धेरैलाई लाग्दो हो, पुलिसबाट रिटायर्ड भएर आरामको जीवन बिताउन सक्ने यी बुढेसकालतर्फ अग्रसर ‘विज्ञान दाइ’ को चर्चा किन त ? अहिले सहिद स्मारक लिग ‘ए’ डिभिजनको ४२ औं संस्करण चलिरहेको छ ।
लगभग ५ वर्ष रोकिएपछि ०७५ सालमा फेरि लिग सुरु भएको थियो । त्यो रेलिगेसन नभएको लिग थियो, त्यसैले त्यो लिगको नाममा कलंक थियो । जे हो, त्यही संस्करणयता उनी लिग आयोजना कमिटीका प्रमुख हुन्, त्यो भनेको उनी अहिले चलिरहेको लिगका प्रमुख ।
नेपाली फुटबल सबैले भन्ने गरेका छन् । अहिले लिग जसरी भइरहेको छ, त्यसमा सुधार आवश्यक छ । यसमा नपुगेका, नआँटिएका, गर्न नसकिएकादेखि गर्न नखोजिएका धेरै पक्ष छन् । नेपाली फुटबललाई साँच्चै माथि उकास्ने हो भने लिग बलियो हुनैपर्छ । अब प्रश्न यो लिग बलियो बनाउने काम कस्को त ? उत्तर आउँछ, अखिल नेपाल फुटबल संघ (एन्फा) को । अनि त्यसको प्रतिनिधित्व गरिरहेका यिनै विज्ञान दाइको । अहिले स्थिति छ, उनले पहल सुरु नगरे, कसले गर्ने त ?
उनी आफैंलाई पनि अहिले लिग जसरी चलिरहेको, त्यसमा चित्त बुझेको छैन । उनलाई पनि लाग्दो हो, आरामले दिन नकाटेर किन लिगको तनाव बोक्ने ? तर त्यस्तो होइन, नेपाली फुटबललाई उनी जत्तिको व्यक्तित्व चाहिन्छ । अझ ठ्याक्कैभन्दा नेतृत्व । केही वर्षमा लिग राम्रो भएर समग्र नेपाली फुटबल नै राम्रो भयो भने त्यसको श्रेय पाउने पनि त उनैले हुन् । निचोडमा भन्दा लिगको ‘विज्ञान’ मिलिरहेको छैन, अझ भन्दा लिगको ‘केमेस्ट्री’ फिक्का छ ।
यसलाई मिलाउने काम फेरि यिनै विज्ञानराज शर्माको हो । एउटा कल्पना गरौं न । लिग फुटबलको खेल हेर्न मारामारको बनेको स्थिति । ब्वाइज युनियन फेरि ‘ए’ डिभिजनमा उक्लेको छ । फेरि एकपल्ट त्रिपुरेश्वरमा गज्जबको फुटबल माहौल छ । लिगमा आरसीटीले खेल्दा असन उठ्छ, महावीरले खेल्दा डिल्लीबजार । एनआरटी र संकटाले एकआपसमा खेल्दा नयाँसडक (न्युरोड) नै सुनसान । अनि थ्रीस्टार मैदान ओर्लिंदा दशरथ रंगशाला आइरहेका पाटने दर्शकको वागमती पुलमा भएको हुल । के चुनौती स्वीकार्य छ त ‘विज्ञान दाइ’ ?

खेलकुद

मछिन्द्रको परीक्षण

‘ए’ डिभिजन लिग
- राजु घिसिङ

(काठमाडौं) - नाम चलेका खेलाडीलाई आकर्षित गर्ने प्रयास गरेन, न त बलियो टिम नै बनाउने चाहना राख्यो । घरेलु फुटबलमै नयाँ अनुहारको वर्चस्व छ, जावलाखेल युवा क्लबमा । मुख्यतः शीर्ष श्रेणीमै टिक्ने लक्ष्य बनाएको जावलाखेलले नसोचिएको रूपमा लिगको ५ खेलसम्म अपराजित यात्रा कायम राख्यो । उसले अर्को अपराजित र हालसम्म सबैभन्दा बलियो देखिएको टिम मछिन्द्रविरुद्ध छैटौं चरणमा शनिबार प्रतिस्पर्धा गर्दै छ ।
पाँचौं चरणसम्म मछिन्द्र, मनाङ र जावलाखेल गरी तीन टिम अपराजित छन् । पुछारतर्फका तीन टिम (हिमालयन शेर्पा, फ्रेन्ड्स र सरस्वती) पहिलो जितकै प्रतीक्षामा छन् । डिफेन्डिङ च्याम्पियन मनाङले शनिबारै हिमालयन शेर्पाविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
उपाधि होडमा रहेका मनाङ र मछिन्द्रको पाँचौं चरणमा ‘भिडन्त’ भएको थयो । मैदानभित्र फुटबलको प्रतिस्पर्धा र खेल सकिएलगत्तै झगडामै होड । शीर्षस्थानको होडमा रहेको प्रतिस्पर्धा २–२ मा टुंगिनु अपराजित रहे पनि अंकको हिसाबले दुवै टिमलाई घाटा थियो । थप घाटा दिलायो झगडाले । खेल सकिएलगत्तै मनाङका जगजित श्रेष्ठले मछिन्द्रका दीपक राईलाई कुहिनाले प्रहार गरेपछि सुरु भएको तनावमा मनाङका दोस्रो राोजइका गोलकिपर अशोक बरालले मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङ किक हान्न पनि भ्याए ।
अशोकलाई त्यतिबेलै रातो कार्ड दिइएको थियो । तर, उनी अनुशासन समितिको बिहीबारको निर्णयले भने लामो अवधिको प्रतिबन्धबाट जोगिए । जगजित ५ खेल, मनाङकै रन्जन विष्ट २ खेल तथा मछिन्द्रका दीपक, देवेन्द्र र विजय धिमाललाई पनि २–२ खेलको निलम्बनमा परे । हातपातमा गर्ने खेलाडीमाथि विगतजस्तै कम्तीमा एक वर्षको प्रतिबन्धको कठोर निर्णय एन्फाको अनुशासन समितिले लिएन । तर, मनाङका किट्स म्यानेजर शिव लामासहित घटनामा संलग्न ६ खेलाडीमाथि गरिएको निलम्बनको निर्णयले दुवै टिमलाई उपाधि होडमा असर गर्नसक्छ ।
मनाङका सात, थ्रीस्टारका चार तथा पुलिस र च्यासलका १–१ खेलाडी भित्र्याएर पहिलोपल्ट लिग च्याम्पियन हुने योजना बुनेको मछिन्द्रलाई शनिबार जावलाखेलविरुद्धको प्रतिस्पर्धा सजिलो हुने छैन । जावलाखेल नयाँ खेलाडीले भरिएको औसत टिम हो र एउटा टिमको रूपमा उसले क्षमताअनुसार राम्रो खेलिरहेको छ । पहिलो खेलमै थ्रीस्टारविरुद्ध गोलरहित खेलेको उसले सन्तोष साहुखलको नेतृत्वको च्यासलमाथि २–१ को जित रचेको थियो । यी दुई खेलले जावलाखेललाई कमजोर आँक्ने अवसर दिँदैन । तर, यसको यो लय कहिलेसम्म कायम रहन्छ भन्ने हो ।
मनाङविरुद्ध बराबरीसँगै मछिन्द्रले ‘ए’ डिभिजन लिगमा १ सय ५० खेल पनि पूरा गर्‍यो । हाल राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहेका स्विडिस योहान कालिनले सम्हालेको मछिन्द्रको औसतको टिम पनि २०७० को लिगमा उपविजेता भएको थियो । त्यो सिजन मछिन्द्रले सुपर लिगमा शतप्रतिशत जित निकाल्ने क्रममा च्याम्पियन भएको मनाङलाई ४–० ले पन्छाएको थियो । शीर्ष श्रेणीको फुटबलको तीन दशकको यात्रामा मछिन्द्रको त्यो (उपविजेता) नै सबैभन्दा राम्रो नतिजा हो र उसले यसपालि त्यसैलाई उछिन्न चाहेको छ ।
गत वर्ष रेलिगेसनबिनाको लिगमा अन्तिमबाट दोस्रो रहँदा यसपालि १ अंक घटुवामा पर्नु मछिन्द्रका लागि महँगो पर्नसक्छ । त्यसैले मछिन्द्र समान नतिजाको बावजुद पनि मनाङ (११ अंक) दोस्रो र मछिन्द्र (१०) तेस्रोमा छ । मनाङविरुद्ध मछिन्द्रको बराबरीमा पाएको अवसर उपयोग गर्दै आर्मी १–० ले सरस्वतीलाई हराएर शीर्षस्थानमा उक्लियो । आर्मीले ४ जित, १ हार खेलेको छ । जावलाखेल र थ्रीस्टारले ९–९ अंक जोडेका छन् ।
प्रशिक्षक नरेश थापाले सम्हालेको जावलाखेलको अपराजित यात्रामा अफ्रिकी मूलका डिफेन्डर डोम्बिया र फरवार्ड फोफाना प्रभावशाली प्रदर्शन गरिरहेका छन् । स्वदेशी युवा खेलाडी पनि छरिता देखिएका छन् । सेन्टर–ब्याक देवेन्द्रबिना फोफानासहितको जावलाखेलको अग्रपंक्ति रोक्न मछिन्द्रलाई गाह्रो हुनसक्छ ।
मछिन्द्रले पासमा सुधार गर्दै बल पोजेसनमा राम्रो गर्न थालेको छ । तर, उसको कमजोर ‘फिनिसिङ’ मा देखिएको छ । सिर्जना गरेको अवसर कमैमात्र सदुपयोग गरेको छ । मछिन्द्रको अग्रपंक्ति तीन गोल गरेका एडेलाजा सोमिडेमा निर्भर देखिएको छ । अभिषेक रिजाल मिहिनेती देखिए पनि बललाई पोस्टको दिशा दिन चुकिरहेका छन् । रेजिन सुब्बा लयमा फर्किएका छैनन् । त्यसैले ‘स्कोरिङ’ मा सुधार गर्न नसके मछिन्द्रलाई च्याम्पियन बन्ने योजना पूरा गर्न मुस्किल पर्नसक्छ ।
मछिन्द्रले उपधि होडका आर्मी, थ्रीस्टारसहित पुलिस, संकटाविरुद्ध प्रतिस्पर्धा गर्न बाँकी नै छ । डिफेन्समा कप्तान विराज महर्जन, रन्जित धिमालसहित अनुभवी खेलाडीहरू भए पनि टोलीले आफ्नै कमजोरीमा गोल बेहोरेको छ । हालसम्मको सबैभन्दा बलियो टिम देखिए पनि मछिन्द्रले च्याम्पियन बन्ने योजना पूरा गर्न भने समग्रमा सबै पोजिसनमा सुधार गर्नु आवश्यक देखिन्छ । प्रवेश कटुवालको टिमनिम्ति सुधारको परीक्षण हुनेछ जावलाखेलविरुद्धको प्रतिस्पर्धा ।

 

 

पछिल्ला ५ खेल
मछिन्द्र
२–० ब्रिगेड ब्वाइज
१–१ च्यासल
३–० फ्रेन्ड्स
१–० एनआरटी
२–२ मनाङ
जावलाखेल
०–० थ्रीस्टार
१–० सरस्वती
१–१ संकटा
२–० च्यासल
०–० एनआरटी


आजका खेल
जावलाखेलविरुद्ध मछिन्द्र
१२ः०० बजे
मनाङविरुद्ध हिमालयन शेर्पा
१५ः०० बजे
दशरथ रंगशाला

खेलकुद

चन्द्रागिरि र ललितपुर च्याम्पियन

- कान्तिपुर संवाददाता
महानगर कप भलिबलको फाइनलमा शुक्रबार चन्द्रागिरि (बायाँ) का खेलाडी ललितपुर महानगरपालिकाविरुद्ध स्पाइक हान्दै । तस्बिर ः कान्तिपुर

काठमाडौं (कास)– चन्द्रागिरि नगरपालिका र आयोजक ललितपुर महानगरपालिकाले महानगर कप भलिबलको उपाधि जितेका छन् ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार महिलाको फाइनलमा चन्द्रागिरिले ललितपुर महानगरलाई प्रतिस्पर्धात्मक खेलमा २३–२५, २५–१९, २५–१८, २१–२५, १५–९ ले हराएर उपाधि जित्यो ।
पुरुषतर्फ ललितपुरले चौतारा साँगाचोकगढी नगरपालिकालाई २३–२५, २५–२०, २५–२१, २५–१२ को सेटमा पराजित गर्‍यो । उपाधि विजेता चन्द्रागिरि र ललितपुरले समान २ लाख पाए । तेस्रो स्थानमा पुरुषतर्फ महालक्ष्मीले कमलामाई नगरपालिकालाई १९–२५, २५–१७, २५–१९, २४–२६, १५–१० को सेटमा हरायो ।
विधागततर्फ ललितपुरका हरि पाण्डे सर्वोकृष्ट खेलाडी भए । उनले १० हजार पाए । ललितपुरका योगेन्द्र गुरुङ स्पाइकरमा, महालक्ष्मीका शरद रावल ब्लकरमा, हरिश बुढाथोकी डिफेन्समा र आयुश खड्का सर्भरमा, चौताराका विश्वास आले सेटर र ललितपुरका मनोज खड्का प्रशिक्षकमा उत्कृष्ट चुनिए ।
महिलातर्फर् चन्द्रागिरिकी झरना श्रेष्ठ सर्वोकृष्ट खेलाडी घोषित हुँदै १० हजार जित्न सफल भइन् । ललितपुरका शर्मिला नेपाली स्पाइकर, पवित्रा सिर्पाली ब्लकर, चन्द्रागिरिका प्रतीक्षा गुरुङ सेटर, पनामिका राई सर्भर, ललितपुरकी विमला सुनुवार डिफेन्स र चन्द्रागिरिका कुमार राई प्रशिक्षकमा उत्कृष्ट चुनिए ।
ललितपुर महानगर स्थापनाको १ सय १ वर्षको अवसरमा ललितपुर महानगरपालिकाले आयोजना गरेको प्रतियोगिताको व्यवस्थापन जावलाखेल भलिबल ट्रेनिङ सेन्टरले गरेको हो । विजेता खेलाडीलाई महानगर प्रमुख चिरिबाबु महर्जनले पुरस्कृत गरे ।

खेलकुद

पुलिस सेमिफाइनलमा

- सुम्निमा चाम्लिङ

(इटहरी) - नेपाल पुलिस क्लब इनरुवामा भइरहेको मनमोहन मेमोरियल लिग (एमएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा प्रदेश २ लाई ४६ रनले हराउँदै पुलिसले अन्तिम चार स्थान सुरक्षित गरेको हो ।
सेमिफाइनल पुग्नका लागि दुवै टिमलाई खेल जित्नैपर्ने दबाब थियो । बलिङमा उत्कृष्ट प्रर्दशन गर्दै पुलिसले बाजी मार्‍यो । शुक्रबार १ सय ८४ रनको लक्ष्य पछ्याएको प्रदेश २ टिम १ सय ३७ रनमा समेटियो ।
पहिलो इनिङ्समा पुलिसलाई मध्यम स्कोरमा समेट्न सफल प्रदेश २ ले ब्याटिङमा भने उत्कृष्ट प्रदर्शन गर्न सकेन । निर्णायक खेलमा ब्याट्म्यान चल्न नसक्दा ४२.२ ओभरमा सबै विकेट गुमाउँदै समूह चरणबाटै बाहिरिन पुग्यो । प्रदेश २ का विशाल सुस्लिङले ८० रन जोडे पनि चार ब्याट्सम्यान शून्यमा पेभेलियन फर्किए । हरिशंकर शाहले १८ र हसिम अन्सारीले १० रन जोडे । पुलिसका दीपेन्द्र ऐरी र ललितसिंह भण्डारीले ३–३ विकेट लिए । पवन सर्राफले २ र ललितनारायण राजवंशी र सागर ढकालले १–१ विकेट लिए ।
पुलिसले सुरुआतमा भने राम्रो प्रदर्शन गर्न सकेन । सुनील धमला र अमित श्रेष्ठले पहिलो विकेटमा ३६ रन जोडे । ब्याट्सम्यान चल्न नसक्दा कमजोर बनेको पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र रशिद खानले केही माथि उकासे । यी दुईले सातौं विकेटमा ४७ रनको साझेदारी गरे । दीपेन्द्रले ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए । अमित श्रेष्ठले ३७, अनिल शाहले १९ र रशिद खानले १६ रन बटुले । पुलिसले ३३ रन अतिरिक्त पायो । प्रदेश २ का लेग स्पिनर कुमार थापा एक्लैले ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै ३२ रन खर्चिए । विवेक यादव र राहुलप्रताप सिंहले समान २ विकेट लिए ।
म्यान अफ म्याच पुलिसका दीपेन्द्रसिंह ऐरी घोषित भए । शनिबार समूह ‘डी’ खेल सुरु हुनेछ । सुदूरपश्चिमले मलेसिया ११ को सामनागर्नेछ ।

खेलकुद

बास्केटबललाई ली–निङको साथ

- कान्तिपुर संवाददाता
थ्रीबाईथ्री वेस्ट बास्केटबलको जर्सी प्रदर्शन गरिँदै ।तस्बिर ः कान्तिपुर

(काठमाडौं) - नेपाल बास्केटबल लिग (एनबीएल) ले पुस २९ देखि आयोजना गर्ने एनबीएल थ्री बाई थ्री वेस्टका लागि खेलकुद सामग्री निर्माता कम्पनी ली–निङले मुख्य प्रायोजन गरेको छ । शुक्रबार ली निङ नेपालका प्रमुख राजेन महर्जन र एनबीएल प्रालिका अध्यक्ष नमितबहादुर थापाले सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौताअनुसार ली–निङले एनबीएललाई ५ लाख रुपैयाँ र त्यति नै बराबरको बास्केटबल सामग्री प्रदान गर्नेछ । सम्झौतापछि एनबीएलका अध्यक्ष थापाले यो साथले आफूहरूलाई प्रतियोगिता अझ व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुर्‍याउने बताए ।
एनबीएल थ्री बाई थ्री वेस्ट पश्चिमका तीन सहर पोखरा, बुटवल र धनगढीमा हुनेछ । कम्तीमा पनि २० टोलीको सहभागिता रहने पोखरा लेग पुस २९ र ३० गते हुनेछ । बुटवल लेग माघ ४ मा हुनेछ । जहाँ १४ टोलीको सहभागिता रहनेछ । धनगढीमा माघ ६ मा प्रतियोगिता हुनेछ ।
तीनै लेगमा फाइनल पुग्ने टोली धनगढीमै हुने एनबीएल वेस्टको फाइनलमा माघ ८ र ९ मा भिड्नेछन् । उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले ली निङको जुत्ता पुरस्कार पाउनेछन् ।
एनबीएलले यसअघि थ्री बाई थ्री इस्ट आयोजना गरेको थियो । एनबीएलले देशको एकमात्र होम एन्ड अवे नेपाल बास्केटबल लिगको दुई संस्करणको सम्पन्न गरिसकेको छ ।

Page 17
कोसेली

मिललवा शराबी सैंया

- भूषिता वशिष्ठ
सिरहाको कमला नदीमा आयोजित ’भूत महोत्सव’ को एक दृश्य ।

विवाह पञ्चमी भर्खरै सकिएको थियो । सहरबाट ध्वजा–पताका विसर्जन पनि गरिएको थिएन । तर, छोरी अन्माएर निश्चिन्त भएको घरजस्तै जनकपुर हलुंगो भएको थियो । गल्ली–गल्लीमा चास्नीमा झ्वाँइऽऽय डुबाइएका घेबरको राग तिख्खर थियो । सहरका कुना–कन्दरामा काई लागेका पुराना पोखरीको एक प्रकारको गन्ध व्याप्त थियो । सडक चौडा नभएका पनि होइनन्, एकाध आधुनिक भवन नबनेका पनि होइनन् । तर, आँतमा जनकपुर अझै पनि प्राचीन छ ।
यही प्राचीन सहरमा महिलाका संघर्ष–कथा सुनाउन रहिमा खातुन मञ्चमा उभिएकी छन् । काई लागेको पोखरीझैँ उनको वर्ण पनि धमिलो पानीजस्तो छ । त्यो धमिलो छालामा कुँदिएका गोदनाका खोप (एक प्रकारको परम्परागत ट्याटु) उनको मनभित्र चिहाउने आँखीझ्याल जस्ता लाग्छन् ।
‘आइमाईको मनभित्र के हुन्छ, कसैले जान्दैन,’ फ्रायडले भनेका थिए । भलै फ्रायडले महिलालाई कटाक्ष गर्दै त्यसो भनेका थिए, यो कथन हाम्रो समयको कहालीलाग्दो यथार्थ हो । आइमाईको मनभित्र के छ कसैलाई थाहा छैन किनभने आइमाईको भाषा हामीलाई थाहै छैन ।
‘अरू त भनौं भने पनि के भनौं, जेठही वार्ड नं ९ मा पाँच धुर जग्गा थियो, त्यो पनि बेच्नुपर्‍यो,’ रहिमा भन्दै छिन् । ‘अहिले सुकुम्बासी भएर नाति–नातिना लिएर बस्छु । छोरी मरिहाली, ज्वाइँले अर्को बिहा गरे । नाति–नातिना पढाउनैपर्‍यो, गोदना गर्न दुई–चार गाउँ जान्छु, आएको पैसाले नाति–नातिनालाई जानकी मन्दिरपछाडिको मदरसामा पठाउँछु,’ बोल्दा–बोल्दै रहिमाको गला भरिएर आयो ।
‘माफ गर्नुहोला मलाई धेरै भन्न आउँदैन । बरु म एउटा गीत गाउँछु,’ भाषणमा गाँठो परेको उनको दुःख, गीतमा सलल बग्यो :
कि मिललवा हरामी सैंया
हे नशाबेमे चूर रे, हाई
मिललवा शराबी सैंया
हे घर बेचलान, घरारी बेचलान
हे बेचलान धुरैधर
थारी बेचलान, लोटा बेचलान
हे बेचलान धुरैधुर
हमरा,
मिललवा शराबी सैंया
रहिमा साठी वर्षकी भइन् । उनी जन्मिनुभन्दा बाह्र वर्षअघि विसं २००४ सालमा नेपालमा महिला शिक्षाको सुरुआत भएको थियो । शताब्दीयौंको दमनको कथा भन्नलाई हामीलाई सय वर्षको पनि तालिम छैन ।
हामी ठूला–ठूला पण्डालमा विशद पण्डितलाई शास्त्रार्थ गर्दै सोध्छौँ, के हुन् आखिर महिलाका दुःख ? केही हप्ताअघि यस्तै भव्य समारोहमा तीन विदुषीलाई राखेर सोधियो, ‘तपार्इंले जीवनमा भोगेको सबैभन्दा दःुखद क्षण के थियो ?’
एक विदुषीले जवाफ दिइन्, ‘अपेक्षाकृत, दक्षिण एसियामा नेपाली महिला त्यति प्रताडित छैनन् ।’
सानैदेखि देश–देशान्तर डुलेकी उनले आफूले भोगेको दुःखद क्षण सम्झन सकिनन् । दक्षिण एसियामा ‘अपेक्षाकृत सुखी जीवन’ बाँचिरहेकी रहिमा खातुनलाई पनि आफ्नो दुःखको कथा सुनाउन हम्मे पर्‍यो । के महिलाका दुःख शब्दमा अटाउँदैनन् वा के महिलाहरू दुःखी नै छैनन् ?
एक प्रकारले भन्ने हो भने हामी भाषाप्रति यति अभ्यस्त भैसकेका छौँ कि हामीलाई लाग्छ, भाषा मान्छेको स्वाभाविक अभिव्यक्तिको निरपेक्ष माध्यम हो । तर, भाषा, कुनै शासन प्रणालीझैँ, सामूहिक व्यवस्थापनका निम्ति निर्माण गरिएको शासन प्रणालीकै अंग हो । भाषा कहिल्यै पनि निरपेक्ष हुँदैन, यो सधैँ शासक वर्गको दर्शनले निर्देशित हुन्छ ।
हरेक शासक वर्गले भाषामार्फत् आफ्नो वैशिष्ट्य स्थापना गर्न खोज्छ । जस्तै, तथाकथित उपल्ला घरानाले प्रयोग गर्ने ज्युनार, सवारी, निगाह इत्यादि स्वस्फूर्त शब्द होइनन् । तिनले सामन्ती घरानाले गर्ने सामान्य क्रियाकलाप– खानु, हिँड्नु, हेर्नु इत्यादिलाई आम मान्छेको भन्दा विशिष्ट देखाउने प्रयत्न गर्छ । त्यसैले एउटै भाषा बोले पनि शासक र दासको भाषा फरक हुन्छ ।
मानवशास्त्रीहरू भन्छन्, चराचर जगत्मा मान्छे मात्र एक त्यस्तो प्राणी हो, जसले सीमित भौगोलिक एकाइभन्दा कैयौं गुणा पर रहेका मानिसलाई पनि विचारधाराका आधारमा एकत्र गर्न सक्छ । यसरी भाषाका कारण धर्म, राष्ट्र र राज्यको उदय भयो । यो हिसाबमा, मानव समाजको विकासको आधारशिला नै भाषा हो ।
अर्कोतर्फ, हरारीले भनेजस्तै, कुनै बाँदरलाई अहिले मालिकको सेवा गरे, व्रत गरे मरेपछि केरा दिन्छु भनेर लोभ्याउन सकिँदैन । तर, विवेकशील प्राणी मानिएको मानिसका अधिकांश धार्मिक र राजनीतिक आस्था यस्तै लोभमा टिकेका छन् । धार्मिक जिहाद, क्रान्तिकारी गुरिल्लादेखि दलितको शोषण, कुनै ठोस भौतिक आधारमा नभएर यस्तै काल्पनिक विचारको आडमा गरिन्छ । त्यसकारण, भाषा नै मान्छेको शोषणको पनि प्रमुख माध्यम हो ।



महिलाका हकमा आएर हेर्दा, महिलाले प्रयोग गर्ने भाषा उही भए पनि उनीहरूको अभिव्यक्तिको शैली फरक छ । शैली फरक भएर के भाषै फरक हुन्छ ?
आधुनिक चिन्तनपद्धतिका प्रणेता हेगेलले भनेका थिए, ‘जो यथार्थ हुन्छ सो तर्कसंगत हुन्छ, जो तर्कसंगत छ सो नै यथार्थ हो ।’
तसर्थ, जो वस्तुपरक छ, त्यसलाई हामीले यथार्थको संज्ञा दियौँ । सत्यलाई भन्दा तथ्यलाई मान्यता दियौँ । जे जति कुरा आत्मपरक छन्– गीत, कविता, भावना, विषाद इत्यादिलाई हामीले यथार्थभन्दा तल्लो दर्जा दियौँ । र, यो कुनै नेपाली बुद्धिजीवीको मात्र दृष्टिभ्रम होइन ।
पाश्चात्य समाजमा सर आइज्याक न्युटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाएपछि अन्तरिक्षमण्डलका सबै पिण्डको दूरी, गति र त्यहाँसम्म पुग्न व्यय हुने समयको मापन गर्न सकिने भयो । प्रकृतिका अभेद्य नियममाथि मानवीय तर्कशीलताको विजयले उत्साहित भएर रेने डेकार्ट भन्ने दार्शनिकले घोषणा गरे, ‘मेरो विचारशीलता नै मेरो वास्तविकता हो ।’
यसरी एकाकी वस्तुपरक चिन्तनको युगको सुरुआत भयो, जसलाई यदाकदा निउटोनियन–कार्टेजियन युग पनि भनिन्छ । यस युगसँगै वस्तुपरक शिक्षाको थालनी भयो । के भनिएको छ भन्दा पनि कसरी भनिएको छ भन्ने कुरा महत्त्वपूर्ण हुन थाल्यो । लोककथा, मिथक, लोकगीत, किंबदन्ती यावत्लाई रुढीवादी र अवैज्ञानिक ठानियो । भौतिक विज्ञानको अनुकरण गर्दै सामाजिकशास्त्रले पनि आफूलाई पुनः नामकरण गरेर समाजविज्ञान (सोसियल साइन्स) बनायो । हामीलाई लाग्यो, मूर्त रूपमा व्यख्या गर्न सकिने वस्तु मात्र यथार्थ हुन् । तर, यो परिमाणमुखी भाषा मान्छेको नैसर्गिक भाषा थिएन, आम मानिसको भाषा अझै पनि आत्मपरक नै थियो । वस्तुपरक भाषाको प्रशिक्षण विद्यालयमा दिइन्थ्यो । तर, नेपालमा महिलालाई ८० वर्ष अगाडिसम्म पनि शिक्षामा पहुँच थिएन । महिलाका अभिव्यक्तिका शैली स्वतः रुढीवादी हुँदै गए । हुँदाहुँदा, कसैले भावनात्मक रूपमा केही भन्दा, ‘के आइमाईले जस्तो कुरा गरेको’ भनेर हपारिन थालियो । यसरी महिलाले आफ्नो भाषा गुमाउँदै गए । केही भनिहाल्नुपरे उनीहरू सीधा भाषामा भन्दा पनि विम्बमा भन्न थाले । रबिन लाकोफ भन्ने महिलावादी भाषाशास्त्रीका अनुसार, महिलाका कथनहरूमा ज्यादा विशेषण र विम्बको प्रयोग हुन्छ ।
उदाहरणका लागि भुवन ढुंगानाको प्रकाशोन्मुख पुस्तक ‘परित्यक्ता’ की नायिका, जो सम्बन्धको कर्मकाण्डीय यान्त्रिकताबाट दिक्क भएकी छन्, लोग्नेलाई हाकाहाकी आफ्नो विषाद भन्न सक्तिनन् । उनको विषाद विम्बात्मक अन्तर्लाप भएर बग्छ–
‘लुगा सुकाउने डोरीमा तिम्रो र मेरो लुगा झुन्डिरहेका छन् । सम्बन्धको यान्त्रिक प्रक्रियामा हामी पनि त्यसरी नै झुन्डिरहेका छौँ । मेरो माथिको ब्लाउज, तिम्रो तलको पाइन्ट । मानौं हामी मुर्कुट्टा हौं, बेमेल वेशभूषा लगाएर छुट्टाछुट्टै हिँडिरहेका छौँ ।’
महिलाका भाषा लयालु छन्, कोमल छन् र विम्बमा जेलिएका छन । ती प्रयोगशालाका भाषा होइनन् । ऐलेन सिक्छु भन्छिन्, महिलाको कथा तर्कको कालो मसीले होइन, भावनाको दुधिलो मसीले लेखिन्छ । त्यहाँ तर्कको धार छैन, झरनाको कोमल बहाव छ । तर, झरना कोमल हुँदाहुँदै चट्टानलाई गलाउँछ । सायद महिलालाई किताबी शिक्षाबाट वञ्चित राखिएर पनि होला, उनको भाषा लहरा लतिका, कुञ्ज, सरिता, छाँगा, फाँट, चराचुरुंगीलगायतका भौतिक परिवेशको लयमा रुझ्दै गयो । तर, लिपिबद्ध गरिएका अक्षरमा मात्रै ज्ञान खोज्ने हाम्रो संकुचित दृष्टिले प्रकृतिको स्वाभाविक मेधालाई नजरअन्दाज गर्छ । स्वाभाविक ज्ञान वा स्वको भावनाले आपुरित भाषा, अस्वाभाविक वा वस्तुपरक सिद्धान्तको चेपमा बिस्तारै निसास्सिँदै गयो ।
महिलाका भाषा ठोस भएनन्, हीराको पिधँमा लुकेको प्रकाशझैँ, ती अनेक कोणबाट परार्वतन भएर तिर्मिर्‍याउने सत्य भएर आए । तर, रमाइलो कुरा के छ भने, विज्ञान जति विस्फारित हुँदै छ, त्यति नै आत्मपरक हुँदै छ । पहिला न्युटनलाई लागेको थियो, गणितीय सूत्र थाहा भएमा प्रकृतिका सबै रहस्य जान्न सकिन्छ । आधुनिक क्वान्टम मेकानिक्स भन्छ, हरेक परमाणुको गति अगम्य छ । हदै भए वैज्ञानिकले शिक्षित अनुमान लगाउन सक्ला तर परमाणुले एकैसाथ कण र तरंग दुवैजस्तो व्यवहार गर्नाले, कणको भौतिक सिद्धान्तको बलमा मात्र प्रकृतिलाई बुझ्न सकिँदैन । जीवन र जगत्लाई बुझ्न आत्मपरक चिन्तन अनिवार्य छ । स्पन्दनको भाषा अपरिहार्य छ ।
महिलाका दुःख बुझ्न, मातृशिशु मृत्यदरको वा कुपोषणको वा महिला शिक्षाका तथ्यांक मात्रै भरपर्दा सूचक होइनन् । साँच्चै महिलालाई बुझ्न, लोकगीत सुन्नुपर्छ । तिनका अनेक कोमल रेसामा जेलिएका विम्बका डल्ला फुकाएर कथ्य रच्ने रेशमकीराको आँत छाम्नुपर्छ । महिलाका कुरा बुझ्न तर्कको धैर्यहीन विश्लेषण होइन, अँगेनामा बसेर दन्त्यकथा सुन्ने बालकको हार्दिकता चाहिन्छ, स्नेह चाहिन्छ, सहानुभूति चाहिन्छ ।
सहानुभूति भन्ने शब्द मीठो छ । महिला भाषिक एकाइमा रैती समान छन् । भाषाले सकेसम्म ‘आइमाईका जस्ता कुरा’ लाई परहेज गर्छ । भाषाको लयमा आइमाईले पनि लोग्नेमान्छेजस्तै बोल्न सिक्नुपर्छ, किनभने भाषामा आइमाई पराई हो । तर, जब भाषा सहअनुभूतिका लागि राजी हुन्छ, तब मात्र भाषा लोकतान्त्रिक बन्छ । अहिले हामी महिलाका दुःख बुझ्न सैद्धान्तिक विमर्श गर्छौं, कुनै दिन हामी यी गीतहरू सुनेर सामान्यजस्ता लाग्ने विम्बका विराटतामा घोत्लिन थाल्नेछौँ :
यता जाऊँ भन्छ, उता जाऊँ भन्छ
केराको पातैले
न यता जानु, न उता जानु छोरीको जातैले
चट्ट काटी दूध आउने लहरे
पीपलु पानीमाथि...

तब मात्रै हामी ती महिलाको भाषामा कुरा गर्न सक्छौं, जसलाई शताब्दियौंं हामीले अशिक्षाको भुमरीमा होम्यौँ । हामी महिलाहरूको पीडाको लेखाजेखा वैज्ञानिक भाषामा गर्न खोज्छौँ, तर यो भाषाको तालिम ती साँच्चै दुःख पाएका महिलालाई छँदै छैन । यदि बुझ्नै खोज्ने हो भने हामीले पहिले महिलाको भाषाको सम्मान गर्नुपर्छ, भाषा सिक्नुपर्छ ।
महिलाको शब्दकोशमा दुःख नवआगन्तुक शब्द हो । मेरी आमा भन्नुहुन्थ्यो, ‘छोरीमान्छे धर्ती हो । जति थुके पनि, लात हाने पनि धर्ती सहिरहन्छे ।’ यी कुनै विद्यालयमा पढाइने पाठ होइनन्, यी आइमाईले आइमाईलाई भित्री भान्छामा सिकाउने जीवनोपयोगी सूक्ति हुन् । यही सूक्तिको आडमा आधुनिक विकासका नाममा प्रकृतिको, महिलाको, आत्मपरकताको र कोमलताको शोषण गरिएको छ । मान्छे वस्तुपरक, भौतिकवादी, महत्त्वाकांक्षी र पितृसत्तात्मक भएको छ । ऊ कोमल, संवेदनशील, दयालु हुन डराउँछ । आखिर कोमल मन यहाँ सधैँ विक्षिप्त नै त पारिएका छन् नि !
पहिला–पहिला मलाई आमाको कुरा बेतुकको लाग्थ्यो । म सोच्थें, यसरी सहेरचाहिँ बसिँदैन । म रहिमा खातुनभन्दा ठ्याक्कै आधा कान्छी छु । विद्यालय गएकी छु, तर्कशील छु, उस्तै परे लैंगिक समानताका बारेमा भाषण पनि गर्न सक्छु । तर, एक वर्षअघिदेखि मेरो दाहिने पातो बेस्सरी दुख्न थाल्यो । अनेक डाक्टरकहाँ जाँदा पनि त्यसको शारीरिक कारण पत्ता लाग्न सकेन । हरेस खाएर म मनोचिकित्सककहाँ गएँ । जाँच पड्तालपछि डाक्टरले भने, ‘तपाईंको दुःखाइ शारीरिक होइन, मनो–शारीरिक (साइकोसोम्याटिक) हो । के तपाईंले त्यस्तो कुनै पीडा दबाएर राख्नुभएको छ ?’
अचानक अनेक दुर्व्यवहारका दृश्य असरल्ल बग्न थाले । म यति सक्षम महिला भएर पनि, स्वावलम्बी भएर पनि, शिक्षित भएर पनि किन मौन भएर ती दुर्व्यवहार सहेँ ? उत्तरै आएन, आमाले भनेको सम्झिरहेँ, ‘छोरीमान्छे धर्ती हो ।’
साइकोसोम्याटिक दुःखाइका अनेक कारण हुन सक्छन् । तर, ज्यादातर ती व्यक्ति, जसले किटेर मलाई पीडा भयो भन्न सक्तैनन्, वा जसलाई लाग्छ– सहनु नै धर्म हो, तिनमा यो मानसिक तनाव शारीरिक पीडाको रूपमा प्रकट हुन्छ । तथ्यांकहरूका अनुसार, साइकोसोम्याटिक दुखाइ ज्यादातर महिलामा देखापर्छ ।
महिलाको शरीरसँग गहिरो द्वन्द्वको सम्बन्ध हुन्छ । आफूलाई बेतहाशा हाँस्न मन लागेको बेलामा सास रोकेर, प्रेममा जडवत् भोग्या मात्र बनेर, थकान हुँदा आराम नगरेर, गीत गाउन मन पुलकित हुँदा, पाउ नाचको थिरकनले भारी हुँदा लोकलाजले दबाएर, कसैले पिट्दा एकान्तमा
आफ्नै भाग्यलाई धिक्कारेर, बलात्कृत हुँदा इतिहासको नजिर हेरेर कहालिएर चुपचाप बसेर, बिस्तारै हामी के गर्दा दुख्छ, दुखाइ के हो भन्ने कुराको ठोस अनुभव नै बिर्सिन्छौँ । हाम्रा दुःख अमूर्त विम्ब बन्छन् ।
रहिमा खातुन गाउँछिन् :
हे घर बेचलान, घरारी बेचलान
हे बेचलान धुरैधर
थारी बेचलान, लोटा बेचलान
हे बेचलान धुरैधुर
हमरा,
मिललवा शराबी सैंया
महिलाका दुःख बुझ्न, महिलाको भाषा बुझ्नुपर्छ । थाली बेचिँदा, लोटा बेचिँदा यहाँ कुनै आर्थिक कारोबार मात्रै भैरहेको छैन, धुरैधुर रहिमाको आत्मा बजारमा बेचिँदै छ । घर घडेरी कुनै जेठहीको जग्गा मात्र होइन, एक–एक गर्दै रहिमाका आश्रयका जग बेचिँदै छन् । हाम्रो समाजमा छोरीको घरै हुँदैन । छोरीमान्छेको सृष्टि उसको अँधिया हो । न सीताको घर थियो न रहिमाको घर छ ।
गीत गाइसकेर गोदना खोप्दै गर्दा, दुख्यो भन्ने केटीलाई सम्झाउँदै रहिमा भन्छिन्, ‘यति पनि नसहे जिन्दगी कसरी सहन्छ्यौ ?’
कतिपय समुदायमा गोदनालाई महिलालाई पीडाकै प्रशिक्षण दिन थालिएको चलनका रूपमा लिन्छन् । रहिमा भन्छिन्, ‘महिलालाई यति ठाउँ दुख्छ कि साँच्चै कहाँ दुखेको भन्ने पत्तो पनि हुँदैन । गोदना खोप्दा दुख्न त दुख्छ तर यहाँ दुखेको हो भनेर थाहा पाउँदा पनि राहत हुन्छ ।’
फोटोग्राफर नवीन बराल यो कथनसँग समर्थन राख्छन् । बराल सानै हुँदा उनकी आमालाई अचम्मको व्यथा लाग्यो । हाकाहाकी यहाँ दुख्यो वा यस्तो भयो भनेर बरालकी आमाले पनि भन्न सकिनन् । लमजुङकै एउटा धामीलाई देखाउँदा कथित ‘बोक्सी लागेको’ ठहर गर्‍यो र ‘बोक्सी’ छिमेकीमध्येकै कुनै महिला भएको ठोकुवा गरियो । यसरी रोगको जरा थाहा भएपछि निदान होला भन्ने आस फर्कियो । तर, दुई वर्षसम्म पनि बीसको उन्नाईस नभएपछि बरालकी आमाले आत्महत्या गरिन् ।
रहिमाले गीत गाइरहेकै प्रांगणमा बरालका ‘बोक्सीप्रथा’सम्बन्धी फोटाहरू पनि राखिएका थिए । सिरहाको कमला नदीमा हरेक कार्तिक शुक्ल पूर्णिमाको सन्ध्यामा ‘भूत महोत्सव’ हुन्छ, जहाँ सयौं महिला ‘बोक्सी झार्न’ आउँछन् । तर, बरालका फोटोमा ‘बोक्सी झार्न’ कमला नदीमा पिटिँदै, चुल्ठो लुछिइँदै गरिएका महिलाहरू जबरजस्ती ल्याइएका होइनन् । उनीहरूमध्ये केही जबरजस्ती ल्याइए पनि, धेरै स्वेच्छाले आएका हुन् । किन जान्छन् त महिला यसरी स्वेच्छाले प्रताडित हुन ?
‘महिलाहरूलाई सानैदेखि अनेक यौन शोषण, पीडा, अभावलाई दबाएर सधैँ आफ्नो भाग्यमा सन्तोष गर्न लगाइन्छ । भाषामा गह पोख्न नसक्दा यी दमित कुण्ठा कामेर, अनर्गल बनेर गैरभाषिक भंगिमामा बग्न थाल्छन् । यही कुण्ठाको ज्वरलाई नै महिलाहरू ‘बोक्सी लागेको’ ठान्छन् । त्यसपछि आफू पिटिए पनि, लुछिए पनि रोग निको होला भनेर राजीखुसी सहन्छन् ।’
हुन त हजारौं वर्षअघि रहिमाकै सहर जनकपुरमा, राजा जनकको सभामा गार्गीलाई याज्ञवल्क्यले, ‘तिमी धेरै पण्डित्याइँका कुरा नगर, अन्यथा यी शब्दकै भारले तिम्रो टाउको झरेर फुट्ला,’ भनेर चुप लगाएका थिए ।
सायद त्यसैपछि हो कि महिलाहरूको शब्दसँगको सम्बन्ध विरानो छ । उनीहरूका अधिकांश संवाद गैरभाषिक तलमा हुन्छन् । शब्दमा पोखिँदा पनि ती भावना परोक्षमा अनेक विम्बहरूको पोकामा लुकाएर पोखिन्छन् । त्यसैले महिलाका कुरा बुझ्न विश्वविद्यालयमा पढेर पुग्दैन, लोकभाषी विम्ब बुझ्नु जरुरी छ, चरम कुण्ठाले गाँजेर थरथर काँप्दै, र्‍यालसिँगान भएर भुइँमा लडीबुडीे गर्दा त्यो आङको खुम्च्याइ–तनाइको गणित बुझ्नु जरुरी छ, गोदना खोप्दाको पीडाको चस्काइ बुझ्नु जरुरी छ, कुनै निदान नभएको एकोहोरो साइकोसोम्याटिक दुःखाइको रन्को बुझ्नु जरुरी छ, मरणासन्न पिटाइ खाएपछिको टनटनको कर्कश राग बुझ्नु जरुरी छ ।
अर्कोचोटि कुनै महिलालाई तपाईंका दुःख के हुन् भनेर सोध्दा उनको उत्तर तपाईंको भाषामा नआएमा, अपेक्षाकृत, दक्षिण एसियामा नेपाली महिला कम प्रताडित छन् भनेर ढुक्क नहुनुस् । यति बुझ्नुस्, महिलाको दुःख सुन्ने/सुनाउने भाषा हामीले सिकेकै छैनौँ । हामी अपठित छौँ । महिलाका सवालमा गँवार छौँ ।
रहिमा खातुनको पूरा गीत यहाँ सुन्न सकिन्छ : M https://www.youtube.com/watch?v=ycv
Dh5NMuTM&feature=youtu.be_

Page 18
कोसेली

उसको खप्परमा गिदी छ

- किशोर नेपाल

दीपक न्युयोर्कजस्तो संसारको राजधानीका रूपमा कहलिएको ठूलो शहरमा ‘उबर’ चलाउँछ भन्दैमा उसलाई ग्रेहाउण्ड बस अड्डाको लोकेसन पनि थाहा होला भनेर कसरी सोच्नु ? फोन गरेर बोलाउने मानिस आएर कारमा नबसेसम्म दीपकले कुनै पनि लोकेसनबारे सचेत हुनु आवश्यक थिएन । साँच्चै, न्युयोर्क जगमग र जीवन्त शहर हो । ट्विनटावर विनाशको पीडा मानिसको मनमा अझै बिझिरहेकै छ होला । आउँदा दिनमा पनि त्यो पीडा बल्झिइरहनेछ । तर, अहिलेसम्म कसैले पनि छाती खोलेर त्यो पीडाको प्रदर्शन गरेको देखिएको छैन । शहरका एफएमहरूमा अधिकांश स्टिभी वन्डरको गीत बज्ने गर्छ— आई जस्ट कल्ड टु से आई लभ यू । मानिसहरू यही गीत रुचाउँछन् ।
त्यही बजाउँछन् ।
ट्विनटावर ध्वस्त भएको पीडा न्युयोर्क राज्य सरकारले अथवा केन्द्रीय सरकारले मानिसको मनमा रोपेको थिएन । साँच्चै, ट्विनटावर ध्वस्त भयो । विकल्पमा त नभनौं, अर्को टावर बनिसक्यो । सत्य हो, ट्विनटावरको विकल्प छैन । ट्विनटावरको विकल्प त
ट्विनटावर नै हो । जबसम्म ट्विनटावर बनेको थिएन, एम्पायर स्टेट बिल्डिङ थियो न्युयोर्क शहरको उचाइ । ट्विनटावर बन्यो । त्यसले एम्पायर स्टेट बिल्डिङको उचाइलाई जित्यो । तर, ट्विनटावर एम्पायर स्टेट बिल्डिङको विकल्प बन्न सकेन ।
उच र नीचको कुरा यस्तै हो । संसारमा को ठूलो हो र को सानो ? मानिस होस् या वस्तु ! न्युयोर्कमा जन्मेका लरेन्स मनसान्टो फर्लङ्गेटी आफ्नो कविता संग्रह ‘ए कन्भे आइल्यान्ड अफ द माइन्ड’ को दस लाख प्रति बिकेपछि पनि सुशान्त रहे । जति बेला उनी तन्नेरी थिए— मलाई राम्रो सम्झना छ, उनका कविता कवि शैलेन्द्र साकारले र मैले सँगै पढेका थियौं झोंछेको पवमा ‘ऐला’ पिउँदै । अहिले त पहिलेको झोंछेजस्तो पनि छैन झोंछे । हट लेमन हनी भएको छ । साकार पनि अहिले अमेरिकाको नर्थ क्यारोलिनातिर हल्लिँदै छ । एउटा पारिवारिक त्रासदीपछि ऊ रुन पनि सकेको थिएन र हाँस्न पनि । तर, समयान्तरमा उसले आफूलाई सम्हाल्यो । भुइँचालोपछि त अब वसन्तपुरको अवतार पनि बदलिएको छ । लरेन्स काठमाडौं आए कि आएनन् ? त्यो मलाई थाहा भएन । यो लरेन्सको कुरा भयो । यसबारे साकारलाई बढी थाहा होला । साथी–भाइहरूका बीचमा हंग्री र एंग्री जेनरेसनको कुरा
उही बुझ्थ्यो ।
ज्याक्सन हाइटका नेपालीहरू सामान्यतया ‘सेभेन ट्रेन’ चढेर म्यानहट्टनको गौरव मानिएको ‘टाइम्स स्क्वायर’ पुग्छन् । उति बेला काठमाडौ शहरकी पपुलर न्युज एंकर मृदुला कोइरालाको प्रसिद्ध रेस्टुराँ पनि यहीं थियो रे । सेभेन ट्रेनको अन्तिम स्टेसन यही हो । टाइम्स स्क्वायरबाट ग्रेहाउन्ड बस अड्डा पुग्न सजिलो छ । यसो भनौं, त्यो अहिले म हिँडिरहेको यसै भवनको एउटा छेउमा छ । एक छिनअगाडि दीपक र म हाम्रो देशजस्तै उल्टो दिशामा दौडिरहेका थियौं । पूरै शहर दर्के पानीमा निथ्रुक्क भिजेको थियो । दीपकलाई बस अड्डा फेला पार्न हम्मे परेको थियो । उसले पेनसिल्भानिया एभेन्युको ‘पेन स्टेसन’ अगाडि, ट्याक्सी वेमा कार रोकेर, मलाई न्युयोर्क शहरबाट बिदा गर्‍यो । पानी बेस्सरी दर्किइरहेको थियो । न्युयोर्क शहर नै डुबाउला कि जस्तो ! सामान्य आँखाले उचाई नाप्न नसकिने म्यानहट्टनका गगनचुम्बी भवनमा बस्नेहरूले के गरे होलान्, यो दर्के पानीको अनुभव ? भवनहरू पचासौं तलाका होलान् । ‘त्यति माथि पानीको वेग हुँदैन कि’ दीपकसँग बिदा हुने बेला आँखाबाट निस्केका पिलपिल आँसु पुछ्दै मेरा पाइला पेन स्टेसनभित्र लम्किए । त्यसरी अघि बढ्दाबढ्दै पनि म के–के कुराहरू सोच्दै थिएँ ! यत्तिकैमा म झन्डै लडेको । कति बेला पाइलाले समथर भुइँ छाडेर ‘स्टेप’ टेकी सकेछन् । थाहै भएन ।
अमेरिका नाम गरेको देशमा ‘जानकारी’ नहुनु भनेको मानिस आफैं द्विविधामा रहनु हो । मानौं कि द्विविधामा हुनु पनि एक प्रकारले आफैंमा अपराध हो । मलाई जानकारी चाहिएको थियो ः ग्रे हाउन्ड बस स्टपको लोकेसनको । खै, त्यो कतातिर छ ? ‘इन्स्ट्रक्सन्स’ पछ्याउँदै जाँदा, बेलाबेलामा यो स्टेसनमा आइपुग्दा, मैले यता आउँदा–जाँदा देख्ने गरेको, ‘हडसन स्टोर’ देखें । यो स्टोर मलाई रमाइलो लाग्थ्यो । बुक, न्युजपेपर्स र अनेक प्रकारका खुद्रा सामानको स्टोर, र सँगै कफी पसल । कफीको चर्को वास्नाले वातावरण महकिएको थियो । कफीको यो बास्ना, मलाई लाग्यो, निकारागुअन कफीको हो । म कफीका लागि नलोभिएको होइन । तैपनि, म त्यहाँ नरोकिईकनै पेन स्टेसनको सबभन्दा पुछारको तलामा रहेको ग्रे हाउन्ड र पिटर प्यान बसको अड्डामा पुगें । मलाई खुशी लागेको थियो । किनभने, बसमा चढ्न मैले खासै हतार गर्नुपरेको थिएन । बस गुड्ने निर्धारित समयभन्दा झन्डै बीस मिनटअघि म त्यहाँ हाजिर भएको थिएँ । मैले ‘अनलाइन’ खरिद गरेको टिकट मेरो स्मार्ट फोनमा सुरक्षित थियो । म ढुक्क थिएँ । तर, मेरो ‘ढुक्क’ भाव एक छिनका लागि मात्र वैधानिक भयो ।
त्यसपछि ढुक्क हुन पाइनँ म । भूतहरू संग्रालिन थाले मेरो दिमागमा ।
यस्तो भयो कि अनायास नै, मेरा पाइला बस अड्डामा रहेको इन्क्वायरी काउन्टरतिर बढे । काठमाडौंतिर भेटिने, कतारो फाल्ने चौबाटोमा बास बस्ने भनेर चर्चामा आउने, रैथाने भूतले एकाएक डोहोर्‍याएजस्तो । सबै आफ से आफ । सबै कुरा बिर्सिएर मैले काउन्टरमा बसेको मानिसलाई आफ्नो
स्मार्ट फोनमा रहेको टिकट खरिदसम्बन्धी सूचना देखाएँ । म ऊसँग बोल्न चाहन्नथें । उसले मैले बोलेको अंग्रेजी बुझ्दैन भन्ने मलाई थाहा थियो । उसले मेरो मोबाइलमा डाउनलोड गरिएको टिकटतिर आँखा पनि नलगाई मलाई टिकट काउन्टरतिर जाने इसारा गर्‍यो । म टिकट काउन्टरमा पुगें । मैले काउन्टर छोड्नुभन्दा पहिले, मेरा आँखा काउन्टर क्लर्कको छातीको बायाँतिर टांगिएको नेम ट्यागमा परे— ह्यामिल्टन । मलाई त्यो मानिस कताकता मानिस नभएर हामीले आफ्नो
बालककालमा घरअगाडिको चौरमा किङ (बल) खेल्दा छिनछिनमा कल्पना गर्ने गरेको भकुन्डे भूतजस्तै लाग्यो । उसको अनुहारको आकार भकुन्डोजस्तै थियो । रङ निख्खर सेतो । दाँतको रङ निख्खर कालो । त्यसमाथि ऊ कालो सुट, कालो ‘बो’ टाई र सेतो कमिजमा सजिएको थियो । गोरो अनुहारमा काला दाँत !
ती गज्जबसँग चम्किइरहेका थिए । ह्यामिल्टन— यो नाम मेरो मनमा गढेर बस्यो । यस्तै मानिसलाई मैले बाल्टिमोर शहरको प्रसिद्ध टाउसन मलमा पनि देखेको थिएँ ।
‘नेक्स्ट’ म झस्किएँ । ‘नेक्स्ट’ पछि सामान्यतया यो समाजमा बोलिने ‘प्लिज’ शब्दको उच्चारण पनि गरेन उसले । मेरो पालो आइसकेको रहेछ । मैले झ्यालको खोपाबाट हात घुसारेर आफ्नो मोबाइलको स्क्रिन देखाएँ । तर, ‘नेक्स्ट’ ले मेरो हात स्वीकार गरेन । अलि रूखो स्वरमा भन्यो, ‘युअर आईडी ।’ मैले खल्तीबाट नेपाल सरकारले जारी गरेको, हरियो रङको, साह्रै पातलो, ‘एमआरपी’ पासपोर्ट झिकेर उसलाई दिएँ । उसले त्यसलाई ओल्टाई पल्टाई हेर्‍यो । हामीले मूल्यवान ठहर्‍याउने त्यो एमआरपी पासपोर्टलाई सामान्य कागज जति पनि मान्यता दिएन । उसले मेरो पासपोर्टलाई कम्प्युटरमा घिसार्‍यो । त्यसपछि उसका हातका औंला कम्प्युटरका किबोर्डमा चल्न थाले । एकै छिनमा कम्प्युटर प्रिन्टरले बोर्डिङ टिकट छाप्यो । ‘नेक्स्ट’ ले टिकट र पासपोर्ट मेरो हातमा राखिदियो ।
नेक्स्टसँग म मुग्ध भएको थिएँ । किनभने, उसका र मेरा बीचमा, यो अपरिचित वातावरणमा पनि, ‘व्यक्तित्वगत’ समानता भेटेको थिएँ मैले । मैले देखें, ऊ पनि, मजस्तै, कम्प्युटरको किबोर्डमा दुईवटा मात्रै औंला चलाउँथ्यो । मेरो घाँटीमा देवी भुवनेश्वरीको लकेट झुन्डिएको थियो । उसको घाँटीमा क्रसको । मैले ‘नेक्स्ट’ को छातीको बायाँतिर टाँगिएको नेम ट्याग देखें । मैले सोचेकै थिइनँ, यहाँ पनि ह्यामिल्टन नामको समानता होला भनेर । तर, नामको समानता थियो । सम्झेर म झसंग भएँ । नेक्स्टको छातीको बायाँतिर टाँगिएको नेम ट्यागमा लेखिएको थियो— ह्यामिल्टन । योचाहिँ निख्खर कालो रङको ‘ह्यामिल्टन’ थियो । दाँत अत्यधिक सेता र उत्तिकै चम्किला । नामहरूको यो मिलनले मलाई मेरो मनको साँघुरो संसारमा ठूलै गडबडी उत्पन्न हुन लागेजस्तो लाग्यो । ‘घोस्टबस्टर’ जस्ता अमेरिकी सिनेमाले उत्तेजित बनाएको मेरो मनमा भूतको संशय उत्पन्न भयो । गोरो छालामा कालो दाँत भएको ह्यामिल्टन । कालो छालामा सेतो दाँत भएको ह्यामिल्टन । ह्यामिल्टन । ह्यामिल्टन । ह्यामिल्टन । सोच्दासोच्दै म वासरुमतिर लागें । धेरैपटक मनले भन्यो, भूत होइन, भ्रम हो । तै, त्यो भ्रम भन्ने मनले पनि भूतको उपस्थितिलाई इन्कार गर्न सकेको थिएन ।
निष्णात थिए ह्यामिल्टनहरू । यो त उनीहरूको अनुहारले बताउँथ्यो । टिकट काट्ने, जाँच गर्ने, मार्क लगाउने र यात्रुको यात्रा सकिएपछि टिकटमा प्वाल पारेर त्यसलाई रद्द गर्ने । म त्यो ‘प्वाल पार्ने’ पन्चिङ मसिन कुन ‘ब्रान्ड’ को थियो त्यो ब्रान्डको नाम जान्न उत्सुक थिएँ । देशतिर त्यस्तो पन्चिङ मेसिन चाहिँदैन । देशका बसमा टिकट काट्नै पर्दैन । खलासीलाई भाडा बुझाए पुग्छ । यतातिरका बसका खलासी र उताका कन्डक्टरको हाउभाउ र लाउने–खाने कुराको कुनै तुलना नै थिएन । उताका कन्डक्टर समृद्ध थिए भने यताका खलासी समृद्धिको अनिश्चित भविष्य कुरेर बसेका थिए । एक्कासि मलाई ज्ञान भयो— यताका कन्डक्टर र उताका खलासीले लगाउने कपडा एकै भए पनि, दुवैतिरको मानसिकता एउटै थियो ।
चार बज्न दस मिनट बाँकी थियो । बस स्ट्यान्डमा मानिसहरूको चहल–पहल शुरु भयो । ठीक चार बजे आउनेवाला थियो बस । विस्तार रुँग्दै गर्दा बस आउने समय भयो । यो स्टेसनबाट बोस्टन जाने बस समयभन्दा पाँच मिनेटअगाडि आइपुग्यो । त्यो बससंगै आउनुपर्ने थियो बाल्टिमोर जाने बस । त्यो बस आइपुगेन । त्यसको सट्टा, बोस्टनको बस छुट्नेबित्तिकै, ह्यामिल्टन नम्बर तीन, बस स्ट्यान्डको परिदृश्यमा देखा पर्‍यो । उसको अनुहार देखेर मलाई लाग्यो, ऊ कुनै दुःखद समाचार सुनाउन त्यहाँ आएको छ । उसले बस यात्रुहरूको ध्यान आफूतिर तान्दै भन्यो, ‘लेडिज एन्ड जन्टलम्यान ।’ लेडिज एन्ड जन्टलम्यान’ हरू हललल्ल हाँसे । हाँसोले ह्यामिल्टनको अनुहार मसांग्रियो । उसले फेरि दोहोर्‍यायो, ‘लेडिज एन्ड जन्टलम्यान,’ यसपटक सबैका कान ठाडा भए । त्यसपछि उसले जानकारी दियो, ‘बसको ड्र्राइभर स्यामुयल हिजो अफिसका साथीहरू कसैलाई थाहै नदिई, अफिसबाट औपचारिक बिदासम्म स्वीकृत नगराई आफ्नो साथीको बिहेको जन्ती गएछ । अहिले भर्खर मात्रै उसले टेलिफोन गर्‍यो । तिमीलाई कम्पनीले जागिरबाट निकालिदेला भन्ने डर छैन ? हामीले स्यामुयलसँग सोध्यौं । उसले केही जवाफ दिएन । वास्तवमा स्यामुयल लरतरो ड्राइभर होइन । ऊ हाम्रो ग्रेहाउन्ड संघको नेता हो ।’ यसपछि ह्यामिल्टन जसरी आएको थियो त्यसरी नै फर्कियो । अर्को बसबारे प्रश्न गर्दा यति मात्रै भन्यो, ‘व्यवस्था हुनेछ ।’
छिनको छिनमा बस स्टप खाली भयो । त्यहाँ एउटी काली महिला र उसका चार जना केटाकेटी, फिलिपिनोजस्तो देखिने एउटा बूढो र म मात्रै बाँकी रह्यौं । महिला र बूढोको अनुहार म हेरिरहेको थिएँ । उनीहरूको अनुहारमा कुनै उत्तेजना र आक्रोश थिएन । ‘अमेरिकामा पनि यस्तो हुने रहेछ’ मचाहिँ निकै उत्तेजित थिएँ । अमेरिकाजस्तो विकसित, सम्पन्न र अग्रगामी देशमा पनि एउटा ड्राइभर बिहेको भोजमा पुगेर मात्तिँदा त्यसको विकल्प नपाएर बस सेवा नै रोकिन्छ भने हाम्रो के हैसियत ! त्यहाँ अरू रुटमा चल्ने बसहरू यथावत् चलिरहेका थिए । नचलेको एउटै रुट थियो बाल्टिमोर । बाल्टिमोर रुटमा बस किन नचलेको ? स्पष्टीकरण दिइसकेको थियो ह्यामिल्टनले ।
‘अमेरिकाको न्युयोर्क शहरको मुख्य बसस्टपबाट एउटा बस बाल्टिमोर गएन । किनभने, बसको ड्राइभर स्यामुयल साथीको बिहेमा मस्त भयो,’ म सोच्दै थिएँ, ‘देशमा पुग्यो भने यो समाचार कति ठूलो हो कति । कसले पत्याउला यो समाचार ? ह्या, अमेरिकामा पनि त्यस्तो हुन्छ ? त्यत्रो सिस्टम भएको मुलुक । ल, एउटा ड्राइभर त बिहेको भोजमा गयो । विकल्पमा ड्राइभरहरू त पक्कै थिए होलान् । कस्तो हरिबिजोग !’
यो कुरा सुनिसकेपछि मैले अरू कुरा सोच्न छाडेँ । कफीको तलतल लागेकाले म नजिकैको कफी पसलतिर लागें । बसस्टपमा भेटिएकी ती काली र थसुल्ली महिला त्यही थिइन् । उनका चार सन्तान त्यही कफी पसलमा बर्गर चपाइरहेका थिए । काली महिलाचाहिँ ठूलो ‘टेक अवे’ ग्लासमा ‘स्ट्र’ बाट स्मुदी तानिरहेकी थिइन् । मैले त्यहाँ एक कप कफी किनें । त्यसपछि बसको वेटिङ हलतिरै फर्किएँ । ह्यामिल्टनले बताएको थियो, ‘व्यवस्था हुनेछ ।’ व्यवस्था भयो भने आफू छुटिएला भन्ने डर सबैलाई हुन्छ । त्यस्तो डर थिएन मलाई । बसको व्यवस्था गर्नेले हामीलाई छुटाएर पक्कै बस गुडाउने छैन ।
रातको १२ बजेसम्म बसको कुनै व्यवस्था भएन । संसारको सबैभन्दा शक्तिशाली भनिएको देशमा एउटा ड्राइभर आफनो ड्युटीमा आएन । उसले देशको सार्वभौमसत्ता सम्पन्न सरकारलाई चुनौती दियो । एउटा रेपुटेड ट्रान्सपोर्ट कम्पनीको रेपुटेसन भत्कियो । काली महिलाका दुई जना बच्चा खेल्दै थिए भने अरू दुई जना नांगो बेन्चमा निदाएका थिए । उनीहरूको तिघ्रामा लामखुट्टे भर्खर उक्लेका थिए । कालीले लामखुट्टेले टोकेको देखेकी थिइनन् । उनी एउटा मुखले चुइगम चपाउँदै थिइन् र अर्को मुखले महिला स्वतन्त्रताको खिल्ली उडाउँदै थिइन् । यो चुरोटको दोष थियो कि चुइगमको ? थाहा भएन ।
फिलिपिनी आकारको रेलको ड्राइभरजस्तो देखिने एउटा बूढो मानिस स्टेसनबाहिरको स्मोकिङ जोनमा बसेर मज्जाले चुरोट तानिरहेको थियो । त्यसपछि, रातिको साढे १ बजेतिर, दुईवटा बस सँगसँगै आए । ती दुवै बस एउटै स्टपमा रोकिए । तीमध्ये एउटा बस, ह्यामिल्टनले भनेअनुसार, कम्पनीले व्यवस्था गरेर बाल्टिमोरका लागि पठाएको थियो । यो बसमा एक जना महिला, दुई जना पुरुष र चार जना केटाकेटी थिए । हामी बसमा बस्नेबित्तिकै ड्राइभरले बस कुदाइहाल्यो । बीचबीचमा ऊ माइकबाट ‘सरी लेडिज एन्ड जेन्टिलम्यान’ भन्दै थियो । बसका सबै यात्री निदाइसकेका थिए ।
ननिदाउनेमा म एक्लै थिएँ त्यहाँ ।
मैले ड्राइभरको अनुहारतिर नजर लगाएँ । योचाहिं रातो वर्णको ह्यामिल्टन थियो, हेर्दै खाइलाग्दो, डम्म परेको । मैले उसको युनिफर्ममा टाँगिएको ट्यागमा हेरें । नाममा लेखिएको थियो, ‘डोनाल्ड ह्यामिल्टन ।’ म आफैंभित्र अत्तालिएँ । एक त ऊ तेज रफ्तारले बस हाँकिरहेको थियो । दोस्रो हाइवेमा उसलाई डिस्टर्ब गर्ने कुनै गाडी थिएनन् । मिर्मिरे बिहानीमा उसले बाल्टिमोरको बस स्ट्यान्डमा पुर्‍याएर बस रोक्यो । मैले उसलाई एकपटक राम्ररी हेरें, उसको अनुहार अरू तीन ह्यामिल्टनको भन्दा बेग्लै थिएन । शारीरिक रूपमा मात्र यो ह्यामिल्टन हट्टाकट्टा थियो । मलाई लाग्यो, यसको खप्परमा गिदी छ ।

Page 19
कोसेली

पृथ्वीको अटोबायोग्राफी र भ्यागुताको हर्ट अट्याक

- रमेश भुसाल

काठमाडौंबाट उडेको फ्लाई दुबईको जहाज साम्यवादी परेछ । सबै इकोनोमी क्लास । किनेर मदिरा वा खाना खान पाइने । यसलाई समाजवादी भन्नुपर्ला । जे भने पनि के फरक पर्छ र, आखिरमा संसार सालाखाला पुँजीवादी नै छ । वाद फरक छ व्यहोरा उस्तै । पुँजीवादको मियो गाढेर संसारभरि दाईं गरेको अमेरिका हिंडेको । तिनीहरूले पुँजीवादसँगै ज्ञानवादलाइ पनि अगाडि सारे । जहाँ सके त्यहाँ पैसा सोहोरे अनि ज्ञान आर्जन गर्ने किल्लाहरू खडा गरे । सेनाका क्याम्पजस्तै ज्ञानका क्याम्प बनाए, विश्वविद्यालय । अझै पनि तिनैको राइँदाइँ छ विश्व ज्ञान जगत्मा ।
अघिल्लोपटक उतै किनेको किताब मार्सिया जोर्नरुडले लेखेको ‘रिडिङ द रक्स, द अटोबायोग्राफी अफ द अर्थ’ सिध्याउने विचार छ, त्यो पनि २४ घण्टा उड्दाउड्दै । दुई महिनाअघिको उतैको यात्रामा इलिजावेथ कोलवर्टले लेखेको ‘द सिक्स्थ इक्स्टिङ्टन एन अन्नचुरल हिस्ट्री’ पढेको थिएँ । यी दुवै किताव पृथ्वीको इतिहास बुझाउने शब्दमाला हुन् । निकै मिहिनेत गरेर उनिएका । उड्दै पृथ्वीलाई पढ्नु, घरीघरी जहाजको झ्यालबाट चियाएर हेर्नु, अनि देखिन्छ त्यही पृथ्वीको कथा जसले हामीलाई सहेको छ । घरी अँध्यारो रात त घरी सुनौलो बिहानी एउटै यात्रामा देख्न पाइन्छ, पृथ्वी वारपार गर्दा । यति सहनशील कुनै ग्रह छैन तर यसले मानिसले गरेका ज्यादती कहिलेसम्म सहेर बस्ला ?
वैज्ञानिकहरू कराइरहेछन्— धेरै भो, अति भए खति हुन्छ । पैसा मात्रै होइन, प्रकृति पनि हेर, तर हामीलाई फुर्सद छैन किनभने हामी अनेक वादका गीत गाउने र त्यसैमा दुनियाँ नचाउनेमा माहिर भइसक्यौँ । पृथ्वीमा दुईवटा वाद थिए । मानवतावाद र प्रकृतिवाद अरू सबै उपवादहरू हुन् । तर, अहिले उपचाहिँ मुख्य भएका छन् र मुख्यचाहिँ उप । कम्तीमा मलाई त्यस्तो लाग्छ ।
जहाज उड्छ । अँध्यारो झन्झन् गाढा । घामलाई जहाजले भेट्टाउन सक्दैन । घाम अघिअघि, जहाज पछिपछि, पश्चिमको यात्रा । हाम्रै श्रमले बनेका खाडीका मुलुकमध्येको एक हो दुबई । भारत, पाकिस्तान, इरान हुँदै जहाज दुबई पुग्दै छ । आफैँले एउटा जीपीएस लिएर हिँडेको छु । घरीघरी जीपीएसले स्याटलाइट नट फाउन्ड भन्ने मेसेज दिन्छ । म के नै गर्न सक्छु र ! स्याटलाइट भेट्टाउने काम उसको हो, म चाहेर पनि सक्दिनँ ।
मार्सिया पृथ्वीको इतिहास पढ्न सक्ने मानिस हुन्, अर्थात् भूगर्भविद् । सबैले पृथ्वीलाई कहाँ पढ्दिन सक्छन् ? पृथ्वीको सुन्दरता भनेकै के हो भने यसले हरेक वस्तुलाई पुनः प्रयोग गर्छ । आज हाम्रो शरीरमा भएका हाइड्रोजन, अक्सिजन र कार्बनका हरेक अणुहरू छोटो अवधिका लागि आइपुगेका हुन् । यी फेरि फर्केर तिनै चट्टान वा अन्य प्रयोजनका लागि जानेछन् । हरेक वस्तु कालान्तरमा फेरिने छ । चलायमान पृथ्वी त्यसै भएको होइन तर समय बदलिएको छ । प्राकृतिक रूपमा जति ढुंगा, गिट्टी, बालुवा नदीहरूले बगाएर एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउँछन् त्योभन्दा बढी त मानिसले आफ्नो प्रयोजनका लागि असारपसार गर्छन् अहिले । गएको दुई सय वर्षमा पृथ्वीको सरदर तापक्रम एक डिग्रीभन्दा बढी भइसक्यो । हिमाल पग्लने दर बढ्दो छ, समुद्रको सतह उकालिएको छ । पृथ्वीले आफ्नो सन्तुलन आफैँले कायम गर्ने कानुन बनाएको छ । तर, मानिसले बिगारेको यो कानुनलाई उसले मान्छ वा मान्दैन, त्यो उसैलाई थाहा छ । विगतका केही वर्षमा भएका विपद्का घटनाले केही संकेत गर्छन्, पृथ्वी रिसाइरहेको छ ।
अठारौँ शताब्दीको अन्त्यतिर बेलायती नागरिक जेम्स ह्युटनले भूगर्भविज्ञानलाई अर्कै मोडमा उतारिदिएका थिए— मार्सिया लेख्छिन् । ह्युटनले पुरानो पृथ्वीको भग्नावशेष अहिलेको पृथ्वीको चट्टानहरूमा भेटिन्छ भनिदिए । उनले थपे, ‘जुन चट्टानमा हामी आज बसोबास गरिरहेका छौँ, त्यो कुनै बेला पानीमुनि थियो ।’ त्योभन्दा अगाडि पृथ्वीको जलवायु स्थिर थियो र त्यसले निरन्तर तर एकैनासको परिवर्तन ल्याउँदै यहाँसम्मको यात्रा गरेको हो भन्ने मत बलियो थियो । ह्युटन सन् १७९७ मा मरे, जुन बेला चार्ल्स डार्बिन जन्मेका पनि थिएनन्, जसले जीव उत्पत्तिबारे सबैभन्दा विश्वसनीय सिद्धान्त प्रस्तुत गरेका थिए । ह्युटनपछि चार्ल्स लियल नामका भूगर्भशास्त्रीले तहल्का पिटे । उनले एकैनासले पृथ्वी चलिरहेको थियो र छ भन्ने सिद्धान्त स्थापित गराउने प्रयास गरे, जुन वास्तवमा सही थिएन ।
पृथ्वीमा समयक्रममा उथलपुथल भएको थियो भन्ने कुरा उनी मान्दैनथे । यो मान्यता हट्न झन्डै १५० वर्ष लाग्यो, जुनबेला सन् १९८० मा वैज्ञानिकहरूले पुष्टि गरे कि पृथ्वीलाई झन्डै साढे ६ करोड वर्षअघि १० किलोमिटर फराकिलो मेटेरोइटले हान्यो, जसको गति ३० किलोमिटर प्रतिसेकेन्ड थियो अर्थात् अहिलेको जेट विमानभन्दा एक सय ५० गुणा धेरै । त्यसैका कारण वायुमण्डल धूलाम्मे भयो र घामको किरण छेकियो । पृथ्वी निकै चिसियो । त्यसैबेला डायनोसरलगायत पृथ्वीमा रहेका लगभग ७० प्रतिशत जीवजन्तु र वनस्पतिहरू लोप भए ।
अँ साँच्चै पृथ्वीको इतिहास केमा लेखिएको हुन्छ ? मेरो दिमागमा यो प्रश्न पहिला आएको थिएन । किताबहरूले प्रश्न गर्न सिकाउँछन् अनि केही उत्तर पनि दिन्छन् । मार्सिया भन्छिन्, वास्तवमा यो पृथ्वीको इतिहास ढुंगाहरूमा लेखिएको हुन्छ, चट्टानहरूमा लेखिएको हुन्छ । जसले ढुंगा पढ्न जान्दछन्, तिनले पृथ्वीको इतिहास बुझ्छन् । तैपनि ढुंगा अपमानित छन् ।
ढुंगाजस्तो मन भएको मान्छे, ढुंगो बोल्दैन भन्ने आरोप लगाइन्छ । अंग्रेजहरू पनि त्यस्तै भन्छन्— स्टोन् कोल्ड, स्टोन् डेड, स्टोन् साइलेन्स् । ढुंगा मृत्युको पर्याय बनेको छ । तर, पृथ्वीका बारे ढुंगालेजत्ति कसैले लेखेर राखेको छैन, उसले जति कसैले बोल्न सक्दैन । ढुंगाले जति घामपानी कसले खाएको छ ? ढुंगा त पृथ्वीको डायरी हो । ढुंगा कहिल्यै पूजनीय भएन सायद । भलै ढुंगाका देवता बनाएर हाम्रो यो भूभागमा त्यसले सम्मान पाएको छ । तर, पुजिएको ढुंगा भएर होइन, त्यसलाई कुनै आकृतिमा ढालेपछिको अवस्थालाई हो ।
मेरो दिमागमा पशुपतिनाथ आइपुग्छन्, खै किन हो ?
आखिरमा त्यो पशुपतिनाथको लिंग पनि ढुंगाकै हो । तर, कसैले त्यहाँ हेर्दा ढुंगा देख्दैन । देख्छ त केवल कहिल्यै नेदेखका शिवको लिंग । उनको लिंग साँच्चै छाला–मासुको हुँदो हो त के अहिलेसम्म रहन्थ्यो ? आखिरमा शिवजीको लिंगको इतिहास त्यो पशुपतिको ढुंगामा छ । क्याबात ! यदि त्यो लिंग बनेको ढुंगो जहाँबाट ल्याइएको हो, त्यो त्यहीँ नै रहेको भए सायद कतै घर छाइएको हुन्थ्यो वा बाटो बनाउन पो प्रयोग हुन्थ्यो कि ! धर्मविरोधी नभन्नुहोला । बुद्धको मूर्ति पनि ढुंगै हो वा जिससको ।
जहाज हल्लियो पाइलटले घण्टी बजाए । आवाज आयो— सिटवेल्ट लगाउ, ट्वाइलेट प्रयोग नगर । नहल्लिने जहाज कहाँ हुन्छ र ? तर, चराहरू उड्दा त जहाजजस्तै हल्लेको देखिँदैन । हुन त म चरा चढेको पनि छैन नि ! नगरेको कुरा किन दाबी गरिरहनु !
४ अर्ब वर्ष पहिलादेखि समुद्रको पिंधमा वा ज्वालामुखीको खरानीमा पृथ्वीले आफ्नो दैनिकी ढुंगारूपी जर्नलमा लेखेको छ र त आज थाहा भयो पृथ्वीको उमेर । कति उमेरको भयो पृथ्वी ! साढे चार अर्ब ! मेरा बाबै ! मानिसले जंगली युगबाट कृषियुग सुरु गरेको १० हजार वर्ष पनि भएको छैन । कत्रो फुर्ती छ !
पृथ्वी एउटा मात्रै जीव भएको ग्रह हो, जसको एउटै कारण छ । यसले विगतका साढे चार अर्ब बर्षमा आफूलाई सधैँ सम्हालेर राखेको छ । हिउँ नै हिउँ भएका बेला पनि यो आत्तिएन । आगो नै आगो भएका बेला पनि यसले गति छाडेन । भोलि के हुन्छ कसैलाई थाहा छैन । तर, यो स्थिर छ यसले धेरै भए मिलाउँछ, थोरैभए पुर्‍याउँछ । पृथ्वीमा विचित्रको सन्तुलन कायम गर्न सक्ने क्षमता छ । पृथ्विकी बहिनी भनिने भेनस अर्थात् शुक्रग्रह समयक्रममा झन्झन् तात्तिँदै गइन् । यसको भाइ मार्स अर्थात् मंगल झन्झन् चिसो हुँदै गइरहेको छ । तर, हाम्रो पृथ्वीले आफूलाई न त निरन्तर तताउँदै गएको छ न चिस्याउँदै । स्थिर तापक्रम बनाइदिएको छ र त यहाँ जीवन छ । मान्छेहरूले बरु गत सय वर्षमा यसको तापक्रम बढाइदिए । यही जहाज चढेर मैले पनि त्यो तताउने कामलाई सहयोग गरिरहेको छु । सात अर्ब मानिसले केही न केही गरेका छन् र पृथ्वीलाई असह्यै भइसक्यो । कसले बुझ्ने, केही बोले विकासविरोधी भन्छन् । पुँजीवादी दुनियाँको कथा नै बेग्लै छ ।
ढुंगो कति महत्त्वपूर्ण छ भन्ने बुझ्न एक छिन पश्चिम अस्ट्रेलियाको ज्याक हिल्स पहाडतिर जाऊँ । त्यहाँको एउटा ढुंगाले पृथ्वीको उमेर पत्ता लगाइदियो । बलौटे ढुंगाभित्रको जिर्कनले बताइदियो पृथ्वीको उमेर । त्यसले अर्बौं वर्षको घामपानीको कथा बताइदियो । पृथ्वीलाई कहिले अचाक्ली ज्वरो आएको थियो भने कहिले कठ्यांग्रिएको थियो । तर, कहिल्यै पनि पृथ्वीको जलवायु उसको काबुबाहिर गएन । वास्तवमा पृथ्वी स–साना प्रणालीहरूको बृहत् रूप हो, जहाँ ढुंगा, माटो, हावा र जीवहरू सहभागी हुन्छन्, मार्सिया लेख्छिन् । ‘हेर्दा लाग्छ, मैले गरेको सानो कुराले कहाँ यत्रो पृथ्वीलाई असर पर्छ र ? वास्वतमा पर्छ किनभने स–साना कुरा मिलेर ठूलो हुने हो’, योचाहिँ मैले लेखेको ।
जहाज खाडीमा टेक्छ । हप्प गर्मी नै छ । चिसो भएकाले लगाएको कपडा फुकालौंजस्तो लागिरहेछ । बसले आधा घण्टाजति घुमाएर इमिरेट्सको जहाज चढ्ने ठाउँ पुर्‍याउँछ । पाना पल्टिरहन्छन् ।
भर्खरै अर्को किताब पढिसिध्याएको थिएँ, इलिजावेथ कोलवर्टले लेखेको ‘द सिक्थ इक्स्टिङ्न एन अनन्याचुरल हिस्ट्री’ । दुई महिनाअघि म पूर्वतिरबाट अमेरिका गएको थिएँ, प्रशान्त महासागर काटेर । अहिले पश्चिमतिरबाट एटलान्टिक महासागर काटियो । पृथ्वीको फन्को मारेको पनि धेरैपटक भयो ।
एलिजावेथको किताबको मुख्य प्रश्न छ, यति लामो यात्रा गरेर आएको पृथ्वीमा अर्को ठूलो उथलपुथल कहिले होला ? कि केही संकेत मिलिसक्यो ? उनको किताब एउटा डरलाग्दो तर सत्य कथाबाट सुरु हुन्छ । यही शताब्दीको सुरुतिर मध्यअमेरिकाको पानामा नामक देशको इलभालडी एन्टोन सहर आसपासबाट विषालु सुनौला भ्यागुताहरू एकाएक हराए । त्यो एउटा विषालु भ्यागुताको विषले झन्डै एक हजार मुसा मार्ने क्षमता राख्छन् ।
सन् २००४ मा हजारौं भ्यागुताका लास छरपस्ट देखिन थाल्यो । अमेरिका र पानामाका केही वैज्ञानिकले अनुमान लगाए, अब यो धेरै दिन रहनेवाला छैन । उनीहरूले केही दर्जन भ्यागुता धेरै समय लगाएर खोजे र उनीहरूका लागि होटल खोले । त्यसलाई फ्रग्स् होटल नामकरण गरियो र ती भ्यागुतालाई त्यहाँ ल्याएर पालियो । वैज्ञानिकले लेख छापे— के हामी छैटौं सामूहिक जीव लोपको नजिकै छौं ? योभन्दा अगाडि अहिलेसम्म थाहा भएअनुसार ५ पटक जीवजन्तुहरूको सामूहिक लोप भएको थियो । पहिलो २५ करोड वर्षअघि भएको मानिन्छ, जुन बेला जीवहरू जमिनमा बसिसकेका पनि थिएनन् । त्योबेला पृथ्वीमा रहेका ती जीव लगभग सबै मरेका थिए रे । यसलाई लोप इतिहासको सबैभन्दा डरलाग्दो समय मान्छन् वैज्ञानिकहरू । त्यसपछि तीनवटा त्यस्ता घटना भए । आज हामीले धेरै चर्चा गर्ने गरेको लोप घटनाचाहिँ डाइनोसरको हो, जुन पाँचौं थियो ।
वैज्ञानिकले भन्दै थिए, जुन गतिमा भ्यागुताहरू पानामामा मरिरहेका थिए, यसले अर्को त्यस्तै ठूलो जीवहरूको लोपको संकेत गर्छ, छैटौं लोप । भ्यागुताजस्ता उभयचर प्राणीको उत्पत्ति २० करोड वर्षपहिला नै भएको थियो, जुन बेला पृथ्वी एउटा मात्रै ढिक्को थियो । त्यसपछि मात्रै यो विभिन्न महादेशमा छुट्टिन सुरु भएको बताइन्छ । अमेरिकादेखि अस्ट्रेलियासम्म, पानामादेखि इक्वेडरसम्म विभिन्न प्रजातिका भ्यागुता हराइरहेका समाचार आइरहेका थिए गएको ३० वर्षमा । तर, पानामामा भने एकाएक भ्यागुता हराए । हाम्रै अगाडि यही काठमाडौं सहरमा घर–टोल आसपासमा के–के हराए हामीलाई चासो छैन । अघिल्लो महिना पनौतीको कुशादेवी जाँदा एक जना कृषक भन्दै थिए, आजकल जुका हराए । किन होला भन्ने प्रश्नमा उनको अनुमान थियो, रासायनिक मलको प्रयोगजस्तो लाग्छ । मैले विज्ञहरूलाई सोधेको छैन ।
भ्यागुतातिर लागौँ । किन ती भ्यागुता मरे भन्ने कुरा पत्ता लागिरहेको थिएन । विज्ञानले प्रश्न गराउँछ अनि उत्तर खोज्न लाग्छन् वैज्ञानिकहरू । कत्रो मिहिनेत पर्छ, ज्ञानको उत्पादन गर्न । हामी तिनीहरूको ज्ञानको रस चुस्नेहरूलाई सामान्य लाग्छ ।
अन्य ठाउँमा पनि भ्यागुता मरिरहेकाले त्यसबारे चासो बढिरहेको थियो । वासिङ्टन डीसीको राष्ट्रिय चिडियाखानामा सुरिनामबाट ल्याइएका एक किसिमका भ्यागुतालाई ट्याङ्कीमा राखिएको थियो । तर, ती भ्यागुता भकाभक मर्न थालेका थिए । एक दिन पशु प्याथोलोजिस्टले मरेको भ्यागुतालाई माइक्रोस्कपमा राखेर हेर्दा त छालामा चिट्रिड्स नामको फंगस रहेको पत्ता लगाए । यो फंगस रूखका टुप्पादेखि जमिनमुनिसम्म पाइने भए पनि यही प्रजातिको चाहिँ त्योभन्दा अघि कतै देखिएको थिएन । यसलाई बाट्राको चाइट्रिइयम नामकरण गरियो अर्थात् ग्रीक भाषामा बाट्राकोस भनेको भ्यागुता हुन्छ । ती फंगसलाई कल्चर गरेर स्वस्थ भ्यागुतामा प्रयोग गरियो, त्यसो गरेको तीन साताभित्रै भ्यागुताहरू मर्न थाले । वास्तवमा त्यो फंगसले भ्यागुताको छालाबाट इलेक्ट्रोलाइटलाई छिर्न नदिँदारहेछन्, जसका कारण भ्यागुता मरे । उनीहरूले यसलाई भ्यागुतामा हुने हृदयाघात भन्ने गरेका छन् ।
विश्व साम्राज्य बनाउन हिँडेको बेलायती भूमि काटेर जहाज घण्टौँ लामो समुद्री यात्रामा निस्कियो । एटलान्टिक महासागर । दुईतले जहाजमा के छैन, सबैथोक छ । विश्वकै सबैभन्दा ठूलो जहाजमा माथिल्लो तलामा पैसा धेरै तिर्नेहरू बसेका छन् । भर्‍याङमा डोरी बाँधेर इकोनमी क्लासका मानिसलाई प्रवेश निषेध गरिएको छ । टाइटानिक फिल्मको याद आउँछ । जसले बढी पैसा तिर्छ, उसैले विशेष सुविधा पाउँछ । यो त पुँजीवादको नियम नै हो ।
भ्यागुतातिरै फर्कौं । पानामाका भ्यागुतालाई पनि त्यस्तै भएको हुनुपर्छ । फंगसले डामे ती भ्यागुतालाई पनि । ती पनि हृदयाघातले मरे । तर, भ्यागुता होटलका भ्यागुता जंगल कहिले फर्किन्छन् थाहा छैन । लोप भएका सुनौला भ्यागुताको वंश धानेर यो होटलमा बसेका भ्यागुताले के फेरि त्यस्तै संख्या बनाउलान् वा जंगलमा छाडिएपछि ती पनि त्यसैगरी मरेर सखापै होलान् ? यसबारे वैज्ञानिकहरू अनभिज्ञ छन् । त्यसैले वैज्ञानिकहरू भ्यागुतालाई जंगलमा लगेर छाड्न हिच्किचाइरहेका छन् ।
आखिरमा विज्ञानले जे गरे पनि, मानिसले चमत्कारै गरे पनि प्रकृति दाहिना भएन भने कसैको केही लाग्दैन । कुनै दिन मानिसहरू भकाभक मर्न थाले भने र कारण थाहा नपाई सबै जनसंख्या सिद्धियो भने के होला ? त्यो हुनै नसक्ने कुरा त होइन । ती सुनौला भ्यागुताको होटल खोल्न त मानिसले सके तर मानिसहरूका लागि कसले होटल खोलिदिन्छ ?
२४ घण्टामा विश्वको राजधानी भनिने अमेरिकाको वासिङ्टन डीसी पुगिन्छ । जहाज नभएको भए के म यो भूमिमा आउन सक्थेँ होला ? कफी पिएर एउटा कुनोबाट हिँडेको मानिस अर्को बिहानको कफी पिउन पृथ्वीको पल्लो कुनामा पुग्न सक्ने बनायो विज्ञानले । सबैभन्दा भाग्यमानी पुस्ता हौँ हामी । तर, अभागी पनि । पृथ्वीलाई विज्ञानले चमत्कार त दियो, सँगसँगै बोझ पनि बोकायो । मानिसले पृथ्वीको जलवायुचक्रमा परिवर्तन ल्याउनेसम्मको फेरबदल गरिदिएका छन्, त्यो पनि गत दुई सय वर्षमै, जुन हजारौँ वा लाखौँ भौगर्भिक वर्षमा हुनेगर्थ्यो, त्यही अहिले सय वर्षमै हुन थालिसक्यो ।
पृथ्वी अजिबको छ । एकदम मिहिन तरिकाले बनाइएको प्रयोगशालाजस्तो । अड्कलेर राखेको अक्सिजन, उस्तै कार्बनडाइअक्साइड । मार्सिया लेख्छिन्, ‘पृथ्वीको डायरी लेख्ने तीन ढुंगारूपी कलमहरू छन् । तिनीहरूलाई चिन्न–बुझ्न सके पृथ्वी बुझिन्छ । पृथ्वीको जलवायु कस्तो थियो, कता पानी थियो, कता जमिन वा यस्तै बुझ्न मन लागे सेडिमन्टरी चट्टान वा ढुंगा खोज्नुपर्छ । यी चट्टान वा ढुंगा समुद्रको पिंध वा जमिनको बाहिरी भागमा हुन्छन् र स–साना कणहरू जम्मा हुँदै बन्छन् । जस्तो बलौटे ढुंगा वा चुनढुंगा । अर्को हो इग्नियस् चट्टान, जुन जमिनभित्रका तहमा भेटिन्छन्, जसले पृथ्वी लामो समयसम्म कस्तो रासायनिक चक्रबाट गुज्रियो भनेर रासायनिक इतिहास राखेर बस्छन् । र, अर्काचाहिँ फिरन्ते चट्टान हुन्छन्, जसलाई मेटामर्फिक रक भन्छन् । यिनीहरू सेडिमेन्टरी वा इग्नियस दुवै हुन सक्छन् र कुनै एक वातावरणबाट यात्रा गर्दै अर्कै वातावरणमा पुग्छन् ।’
जाबो ढुंगाको बारेमा यत्रो चर्चा र चासो के जरुरी छ ! पक्कै पनि छ । ढुंगा र चट्टान धेरै भएको देशका नागरिक हामी । हामीले कति बुझ्यौँ, ढुंगालाई या सधैँ भञ्ज्याङमा भगवान् बनाएर मात्रै राख्यौ वा मन्दिरमा कुँदेर मात्रै । हिमालय पर्वतमा अवस्थित हाम्रो देशमा आज विश्वचर्चित ढुंगा वा चट्टान प्रयोगशाला हुनुपर्थ्यो तर देश त राजनीतिक प्रयोगशाला पो बनिरहेको छ । ढुंगा, माटो, नदीको के वास्ता ! हुन त टोनी हागनले भनिदिएका थिए, पूरै नेपाल नै भौगर्भिक प्रयोगशाला हो । हामी मख्ख पर्‍यौं, त्यसपछि केही गरेनौं ।
जीवनमा कहिल्यै नभएको घटना भयो यसपटक अमेरिकामा । मित्र यादव जोशी मलाई भेट्न आए । के खाने ? महँगो अचाक्ली छ अमेरिकामा, कम्तीमा हाम्रा लागि । ‘जाडोमा सुप खाऊँ यसै पनि थकाली भान्छाघर नजिक छैन,’ मैले भनें ।
हामी भियतनामी नुडल सुप खान पस्यौँ डीसीको चाइना टाउन नजिकै । फो गा भनेको चिकेन नुडल ।
अर्डर गर्‍यौं । छेउमा एकजोडी काला जातिका मानिस गफ गरिरहेका थिए । न हामीले उनीहरूलाई हेर्‍यौं, न उनीहरूले हामीलाई । फो गा मीठो भयो त्यो चिसोमा । ती त्यो जोडी हामीभन्दा पहिल्यै उठेर गए ।
‘बिल पाऊँ न’, मैले भने, त्यो जोडी उठेको केही बेरपछि ।
मंगोलियन अनुहारका ती वेटर आए र भने, ‘सर द लेडी नेक्स्ट टु योर टेबल पेड योर बिल ।’
‘कसरी, कसैले हामीले खाएको तिर्न सक्छ बिनाजानकारी ? मलाई किन भनेनौ ?’
उनले जवाफ फर्काए, ‘उनले तपाईंहरूको बिल तिरेको कुरा तपाईंहरूलाई थाहा नहोस् भनेर भन्न चाहन्न भनिन् ।’
‘यो के भो ? पुँजीवादको किल्लामा फ्री डिनर ?’
प्रश्न अनेक आए मनमा । किन ती काली महिलाले हाम्रो बिल तिरिदिइन् हँ ? के तिनलाई थाहा थियो— हामी गरिब मुलुकबाट आएका हौं ? आजसम्म कसैले यस्तो गरेको थिएन ।
खै, सायद ऊ आफ्नो प्रेमीसँग खुसी भई । उनीहरूले विवाह बन्धनमा बाँधिने निर्णय गरे वा कुनै चिठ्ठा पर्‍यो, भगवान् जाने । पहिलोपटक पुँजीवादको किल्लामा फ्री डिनर खाइयो ।
वैज्ञानिकलाई पृथ्वीको उमेर पत्ता लगाउन बरु सजिलो भयो होला तर म बुबुरोलाई त्यो फ्री डिनरको कारण पत्ता लगाउन असम्भव नै छ ।
कहाँ खोज्न जाऊँ तिनीहरूलाई ! मैले सोधेँ, ‘इमेल वा फोन छ ?’ बेटरले उत्तर फर्काए, ‘छैन ।’
रातभरि सोचिरहें, कसले तिर्‍यो मेरो खानाको पैसा ? तर, उत्तर छैन । दुईतले जहाज फर्केर फेरि पूर्व हानिन्छ । बाटो तलमाथि वा पूर्वपश्चिम पर्ला तर गन्तव्य निश्चित छ । जाँदा अँध्यारै अँध्यारो थियो, आउँदा उज्यालै उज्यालो । जाँदा दिन हरायो, आउँदा रात हरायो । जहाज उड्दै गर्दा म त्यो विशाल वासिङ्टनमा त्यो जोडीको घर खोज्छु, जसले मेरो खानाको बिल तिरिदियो, जसरी वैज्ञानिकहरू पृथ्वीको उमेर खोज्दै थिए कुनै ढुंगामा ।

Page 20
कोसेली

अप्रमाणित ‘दिव्योपदेश’ !

लिखित वाङ्मयमा अतिप्रशंसित पृथ्वीनारायणको नायकत्व र उनको ॅदिव्योपदेश’ लाई लोकसाहित्यले पुष्टि गर्दैन ।
- सङ्गीत

संसारमा जति ठूला घटना हुन्छन्, त्यति नै ठूलो लोकहल्ली चल्छ । ठूल्ठूला संकट, युद्ध, महामारी, भुइँचालो आदिको प्रतिविम्बन लोकसाहित्यमा पाइन्छ । औपचारिक अभिलेखहरूमा नभेटिने इतिहास उखानटुक्का, किस्साकहानी, लोककथा, लोकगीतमा बाँचेको हुन्छ । औपचारिक इतिहासमा आख्यान र यथार्थ (फिक्सन एन्ड रियालिटी) को साँठगाँठ हुने गर्छ । कतिपय इतिहासकार त लेखिएको इतिहासमा भन्दा कहिलेकाहीँ दन्त्यकथा, लोककथा वा लोकगीतमा सत्यको मात्रा बेसी हुने बताउँछन् । दुनियाँका शक्तिशाली व्यक्तिबारे लिखित सामग्री मात्रै हुँदैनन्, किंवदन्ती र ‘पपुलर गसिप’ पनि अनेक हुन्छन् । नेपाली इतिहासमा सबैभन्दा बढी चर्चा पाएका राजा पृथ्वीनारायण शाह र उनले चलाएको राज्यविस्तारको स्थान लोकसाहित्यमा कति छ त ? यतातिर राजनीतिक इतिहासकार र साहित्यका इतिहासकारले खासै कलम चलाएको पाइँदैन ।
लोकितिहास र मौखिक इतिहास नेपालमा खासै विमर्शमा छैन । लोकजीवनबाट इतिहास अध्ययनका सन्दर्भ–सामग्री बटुल्ने र त्यसआधारमा समाज र राजनीतिको यथार्थ विकासक्रम बुझ्ने पद्धति विकास नभएकाले राज्यले स्थापित गरेका मूल्यहरूप्रति प्रश्न र सन्देह गर्ने परिपाटी पनि कमजोर छ । गम्भीर र सचेत इतिहासकारहरू लोककथा, लोकगीत, उखानटुक्काभित्र पनि इतिहासको सच्चाइ गढेको देख्न सक्छन् । शासकले कपेका शिलालेख वा लालमोहर लागेका कागज मात्रै खोजखन्तर गरेर जनइतिहासको यथार्थ भेउ पाइँदैन । यो पृथ्वीनारायण शाहको अध्ययनमा पनि लागू हुन्छ ।
नेपाली समाजमा उपलब्ध लोकसाहित्यलाई आधार बनाएर पृथ्वीनारायण शाहको वस्तुगत भूमिका खोज्न बाँकी छ । उनीबारे नेपालको शासकीय राजनीतिले र राज्य स्वयंले जुन स्तरमा महिमामण्डन गरेको छ, त्यसलाई हालसम्म संकलन गरिएका लोककथा, लोकगीत, लोकगाथा र लोकपद्यहरूले पुष्टि गर्दैनन् । मोतीलाल पराजुलीको ‘नेपाली लोकगाथा’ (२०४९) र जीवेन्द्रदेव गिरीले विभिन्न संकलनबाट एकत्रित पारेर सम्पादन गरेको ‘हाम्रा लोकगाथा’ (२०५७) पुस्तकमा थुप्रै शासकका गाथा छन् । पछिल्लो पुस्तकमा भक्ति थापा, अमरसिंह, जंगबहादुर राणा, चन्द्रशमशेर आदिका कर्खा छन् । त्यस्तै भोटसँग नेपालले गरेको लडाइँको सवाई पनि प्रसिद्ध गाथा छ । बहादुर शाहविरुद्ध लडेका गुल्मीका राजा श्रीनन्दको चाँचरी पनि गण्डकी क्षेत्रमा प्रसिद्ध छ । पुस्तकमा बाहेक विश्वयुद्धमा सहभागी लाहुरेका कथा पनि गन्धर्वहरूका गलामा जीवितै छन् । तर, यति धेरै गाथा लोकजीवनमा भेटिँदा पृथ्वीनारायण र उनको ‘एकता अभियान’ लाई लोकजीवनले सकारात्मक प्रक्रियाका रूपमा किन सम्झन दरकार ठानेन ? यो प्रश्न आगामी अध्ययनका लागि महत्त्वपूर्ण छ ।
हंसपुरे सुवेदीले तयार पारेको ‘नेपाली लोकपद्य ः परिचय–विवेचना’ पुस्तकले थुप्रै लोककविता र लोकपद्य सँगालेको छ । ‘गण्डकीका लोकपद्य’ (२०६४) नामक पुस्तकमा पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापक चूडामणि खनालले पनि गण्डकी सेरोफेरोका प्रसिद्ध सिलोकहरू टिपोट गरेका छन् । यी पुस्तकमा पनि पृथ्वीनारायणको पराक्रम वा वीरताको चर्चा छैन, बरु एकाध सिलोक गोर्खालीको नकारात्मक चित्रणमा केन्द्रित छन् । पृथ्वीनारायणकै पालाका लिखित चाकरी–कविता वा पछिल्ला समयमा भारदारी कविले तयार पारेका रचनाको चाङको यहाँ चर्चा गर्नु परेन किनभने हरेक वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानले ‘पृथ्वी जयन्ती’ मा प्रभातफेरीसहित उनीप्रति समर्पित कविता–निबन्धसहितको वार्षिक संकलन छापिरहेकै छ (अहिलेसम्म कविता मात्रै पनि डंगुर लागिसक्यो होला) । भारतमा सन् १८५७ को स्वतन्त्रता संग्रामको स्थान कति छ भन्ने म्यानेजर पाण्डेद्वारा सम्पादित त्यसै संग्रामसम्बद्ध लोकगीत संकलनबाट थाहा पाउन सकिन्छ । नेपालकै भोटसँगको लडाइँको बहुचर्चित सवाईको पनि माथि चर्चा गरिसकियो । पृथ्वीनारायणपछिका शासकहरूले नेतृत्व गर्दाको गोर्खा राज्य, गोर्खालीहरूको बहादुरी, गोर्खाली सिपाहीबारे पनि लोकजीवनमा फाट्टफुट्ट किंवदन्ती र कथा भेटिन्छन् । तर, पृथ्वीनारायणबारे किन कुनै लोकोक्ति नबनेको होला ? सामूहिकताको प्रतिनिधित्व गर्ने लोकरचनामा पृथ्वीनारायण किन स्थापित छैनन् ? यो रोचक सन्दर्भ हो ।
अर्को सन्देहास्पद सन्दर्भ छ– ‘दिव्योपदेश’ को । पछिल्लो सात/आठ दशकमा राज्यकै अगुवाइमा बहुप्रसारित यस लिखतबारे इतिहासकारहरूले अनेकपटक आशंका प्रकट गरिसकेका छन् । पृथ्वीनारायणको मृत्यु १८३१ सालमा भयो । त्यसको १६० वर्षपछि अर्थात् १९९० सालको भुइँचालोपछि यस व्याख्यानको हस्तलिखित प्रति बाबुराम आचार्यले सरदार शिवरामसिंह बस्नेतको दरसन्तान बखतमानसिंह बस्नेतबाट हात पारेको आचार्यका छोरा श्रीकृष्ण आचार्यले लेखेका छन् । प्रश्न उठ्छ— डेढ सय वर्षसम्म यो व्याख्यान कसरी विलुप्त भयो ? अनि यसलाई कसले उतारको थियो ? कसले पटकपटक सारेको थियो ? इतिहासकार प्रत्युष वन्त यसबारे थप अध्ययनको खाँचो देख्छन् । ‘१९९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ लाई रिफर गर्दै लेखिएको कुनै अर्को चीज देखा पर्दैन, यसले विभिन्न किसिमका कौतूहल जन्माउँछ’, वन्तको प्रश्न छ, ‘९० सालको भुइँचालोसम्म किन यो कतै उल्लेख भएन वा प्रकाशमा आएन ? यसको उत्तर खोज्नुपर्छ ।’ (हेर्नुहोस् अन्तर्वार्ता) ।
२००७ सालमा राणाशासन अन्त्य भएपछि पहिलोपटक पृथ्वीजयन्त मनाउन २००९ सालमा शाह परिवारका चौतरिया फत्यजंग पराक्रम शाहका नेतृत्वमा समिति बन्यो । त्यस समितिमा क्रमशः उपाध्यक्ष र सदस्य–सचिव बनेका बाबुराम आचार्य र योगी नरहरिनाथको संयुक्त सम्पादनमा ‘दिव्योपदेश’ नाम दिएर पहिलोपटक प्रामाणिक संस्करण भन्दै दरबारले नै छपाएको थियो । यसको अघिल्लो संस्करण नरहरिनाथले नै बनारसबाट ‘गोरक्ष ग्रन्थमाला’ अन्तर्गत २००९ मा छापिसकेका थिए । बाबुराम आचार्य र नरहरिनाथ राजदरबारकै योजनामा राजइतिहास लेखनमा क्रियाशील रहेका व्यक्ति हुन् । अर्का इतिहासकार राजेश गौतमले बाबुराम आचार्यकृत पृथ्वीनारायण शाहसम्बन्धी लेखनलाई ‘दरबार बाबुराम आचार्यका मुखबाट’ बोलेको भनेका छन् । गोरखाको इतिहासका अध्येता दिनेशराज पन्त भने ‘दिव्योपदेश’ पृथ्वीनारायणकै थियो भन्ने विश्वास गर्छन् । तर, ‘दिव्योपदेश’ को हस्तलिखित कसको थियो वा कसले तयार गरेको थियो भन्न नसकिने बताउँछन् (हेर्नुस्, अन्तर्वार्ता) । शाह राजाहरू एक से एक हुन् भन्ने देखाउन पञ्चायतकालको ‘गाउँफर्क’ अभियानका पालामा पृथ्वीनारायणको औंला ठड्याइएका मूर्ति बनाउने र महिमामण्डन गर्ने काम भएको चाहिँ उनी स्विकार्छन् ।
बाबुराम आचार्यले भेट्टाएको, सूर्यविक्रम ज्ञवाली र नरहरिनाथलाई दिन उनैले सारेको, दरबारले बनाएको समितिमा बसेर संशोधन गरेको (श्रीकृष्ण आचार्यका अनुसार) ‘दिव्योपदेश’ को मूलपाठ कुन हो ? यसका पाठान्तर कतिवटा छन् ? यो कसले तयार गरेको भन्ने विषयमा पुनर्परीक्षण हुन बाँकी छ । कतिपय इतिहासकारले सन्देह गरेजस्तै यो ‘पृथ्वीनारायण शाहका काँधमा राखेर चलाइएको बन्दूक’ त होइन ? अध्ययन बाँकी रहेको र पुष्टि नभइसकेका कारण धेरै इतिहासकार यसबारे बोल्न हिच्किचाउँछन् । तर, प्रश्न उठ्नु स्वाभाविक छ— के ‘दिव्योपदेश’ पृथ्वीनारायणकै आत्मकथा हो त ? कि बाबुराम आचार्य, नरहरिनाथलगायत शाहखलकप्रेमी भारदारी इतिहासकारहरूले जोडजाड पारेर पृथ्वीनारायणका हातमा राखिदिएका हुन् ? अहिले भन्ने गरिएजस्तो त्यति लोकप्रिय प्रवचन उनले दिएकै हुन् भने पनि त्यसबारे लोकजीवनमा कहीँ न कहीँ किस्सा, किंवदन्ती वा गाथा बन्नुपर्ने भन्ने
अड्कल काट्न सकिन्छ । तर, यो बहुप्रचारित व्याख्यानलाई लोकसाहित्यले किन पुष्टि गर्दैन ?
यी प्रश्नको उत्तर खोज्न बस्नु सजिलो काम पक्कै होइन । त्यसका लागि सात दशकभन्दा बढी समय लगाएर राज्यले जोरजुलुमसहित स्थापित गरेका विश्वासहरूमाथि प्रश्न गर्नुपर्ने हुन्छ । यसका लागि सत्य भनिएका लिखित सामग्रीको तुलनात्मक र भाषावैज्ञानिक अध्ययनको खाँचो छ । अनि, लिखित दस्तावेजहरूको मात्रै चिन्ता गरेर मन्त्रालयका फाइल गन्ने वा अड्डाका ढड्डा पल्टाउने उपक्रमबाट बाहिरिनुपर्ने हुन्छ । लोकजीवन र मौखिक स्रोतहरूको विशाल संसारमा विचरण गर्ने प्रतिबद्धताबिना इतिहासको पुनर्परीक्षण गर्न कठिन छ । त्यो कठिनाइ झेल्न तयार इतिहासकारहरूका लागि लोकसाहित्यका हालसम्म भेटिएका सुरुआती रचना ढोका हुन सक्छन्, जसमा गोरखाली राजाको अलोकप्रियता पनि चित्रण छ । गण्डकी प्रदेशतिर गाइने त्यस्ता एकाध सिलोक र चुड्काहरूले गोर्खाली राजालाई धन बटुल्न (लुट्न ?) हिँड्ने व्यक्ति भन्छन् । जस्तै : 
डाङ्डाङ् र डुङ्डुङ डरलाग्दा बाजा
राती–राती हिँड्ने गोरखालि राजा
गोर्खाली राजालाइ धनैले पुगेन
बाहुन्का छोरालाई टन्टाले टुटेन ।(हंसपुरे सुवेदी, पृ. ६०)

सिरुवारी भारते
रातो भाले काटथे
गोरखालि आउँदा– ढाकछोप गरथे
लमजुङे आउँदा– बाँडिचुँडी खानथे ! (उही, पृ. १५०)
लोक जीवनमा उपलब्ध मौखिक स्रोतहरू जनइतिहासका अनिवार्य स्रोत हुन् । किनभने लिखित इतिहासको मूल हिस्सा दुई–चार जना शासकका वृत्तान्तमा खर्चिएको छ, जसले अगणित शासितजनलाई निषेध गरिरहेको हुन्छ । भारतीय इतिहासकार लालबहादुर बर्मा भन्छन्, ‘लिखित स्रोतहरूमा मुख्यतः समाजको उच्च शासकवर्ग परिलक्षित हुन्छ ।... लिखित शब्द शासकहरूको हतियार बनेर शासितहरूलाई निःशब्द पारिदिन्छ ।’ नेपालमा पनि शासकका घोषणा, अभिलेख, लेखोट र उनीहरूसम्बद्ध तिथिमितिको हिसाबकिताब राख्नेहरू नै इतिहासकार भनेर चिनिन्छन् । तिनले राज्यले स्थापित गरेका मान्यतामाथि प्रश्न गर्ने आँट गर्दैनन्, बरु त्यसैलाई एक मात्र सत्य मानेर प्रश्नलाई निषेध गर्छन् । तर, प्रश्न र सन्देह लोकतन्त्रमा सही उत्तर खोज्ने प्रारम्भिक विन्दु हो भने सत्यको पुनर्परीक्षण गर्ने आधार पनि हो । त्यसकारण पृथ्वीनारायणको महत्ता वा उनको ‘दिव्योपदेश’ को प्रामाणिकताबारे पुनः प्रश्न उठ्दा इतिहास अध्ययनको फलकले विस्तार हुने मौका पाउँछ । बरु प्रश्नलाई निषेध वा ढाकछोप गर्दा खोज र आविष्कारका ढोका बन्द हुन्छन् ।
@SangeetSrota

कोसेली

शंका गर्नु नै अप्रामाणिक हो

- कान्तिपुर संवाददाता

नेपाल प्रज्ञा प्रतिष्ठनका प्राज्ञ दिनेशराज पन्त चर्चित इतिहासविद् हुन् । २०७३ सालमा उनले ‘पृथ्वीनारायण शाहको दिव्योपदेश र संक्षिप्त जीवनी’ नामक पुस्तक प्रकाशन गरेका छन् । पृथ्वीनारायणको इतिहासबारे हुने अधिकांश बहस र छलफलको केन्द्रमा पन्त आइहाल्छन् । पृथ्वी जयन्तीको छेकोमा पृथ्वीनारायण शाह र दिव्योपदेशमाथि केन्द्रित भएर जनकराज सापकोटाले पन्तसँग गरेको कुराकानी :

 

पृथ्वीनारायण शाहबारे अहिले अलग–अलग बुझाइ छन् । तपाईंको बुझाइ कस्तो छ ?
पृथ्वीनारायण शाह विसं १७९९ चैत २५ गते राजा भए । उनले विसं १८०० असोज १५ गते नुवाकोट जिते । १८२५ सम्म उनको राजधानी नुवाकोट नै भयो । उनले लगालग एकपछि अर्को राज्य विजय गरेको इतिहास छैन । तर, राज्य जितेपछि पनि उनी चुप लागेर बसेको देखिन्न । पश्चिम १ नम्बर नुवाकोटबाट काठमाडौं जम्मा साढे सात कोस हो । यति नजिकको राज्य जित्न उनलाई नुवाकोट विजयपछिका २५ वर्ष लागेको देखिन्छ । विसं १८२५ असोज १३ गते उनले काठमाडौं सहर जिते । त्यसैले भन्न सकिन्छ, उनले सैन्य बल मात्रै प्रयोग गरेनन्, रणनीतिक योजना पनि अख्तियार गरे ।
अहिले पृथ्वीनारायणलाई एकातिर देवत्वकरण त अर्कातिर दानवीकरण गर्ने चलन छ । हामी संशोधनमण्डल पद्धतिका मानिसले त्यसबाट टाढा बस्नुपर्छ भनेका छौं । पृथ्वीनारायण देउता बनाउँदैमा ठूला, दानव बनाउँदैमा साना हुने होइनन् । हामी नेपाल चाहँदैनौं र नेपाली हुनुमा गौरव मान्दैनौं भने पृथ्वीनारायणलाई जुन दृष्टिले हेरे पनि भयो । इतिहासले पनि त्यसै गर भन्दैन । उनका जति पनि उपदेश छन्, सबै दिव्योपदेशमा आएका छन् । ती उनको जीवन पद्धतिसँग मिल्न आउँछन् पनि । यसैले उनको ब्यक्तित्व कस्तो थियो भन्ने बुझाउँछ ।

कतिपयले दिव्योपदेशकै प्रामाणिकतामाथि पनि शंका गर्छन् । उनले लेखेकै होइन भन्छन् । के समयक्रममा दिव्योपदेशपछि थपथाप हुँदै आएको हो ?
यो प्रश्न नै अप्रामाणिक शंका हो । पृथ्वीनारायणकै समयका काजी अभिमानसिंह बस्नेतका दरसन्तान बखतमानसिंह बस्नेतबाट दिव्योपदेशको मूलप्रति पाइएको हो । त्यो हस्तलिखित थियो, जुन अहिले राष्ट्रिय अभिलेखालयमा छ । अभिमानसिंहकहाँ त्यो कसरी आयो भन्ने प्रश्नमा त्यो उनकै कुनै कारिन्दाले पृथ्वीनारायणको कुरा सुनेर तयार पारेका हुन सक्छन् । बखतमानले पनि त्यो हस्तलिखितप्रति आफ्नै कुनै कारिन्दाको घरमा भेट्टाएको बताएका थिए ।
पहिले दिव्योपदेश २००७ सालतिर मात्रै पाइएको हो भन्ने थियो । तर, इतिहासकार बाबुराम आचार्यले त्यसअघि नै पाएको भेटियो । उनले दार्जिलिङमा रहेका साहित्यकार सूर्यविक्रम ज्ञवालीलाई त्यसको केही अंश पठाइदिए । विसं १९९२ मै दार्जिलिङबाट दिव्योपदेश समेटिएको पुस्तक निस्किएको पाइयो । तर, आचार्यले त्यो दिव्योपदेश कहाँबाट पाए, यकिन छैन । हुन सक्छ, कुनै भारदारले दिए ।
योगी नरहरिनाथजस्ता मान्छेले पनि दिव्योपदेशको संकलन गर्ने र जनस्तरमा पुर्‍याउने काम गर्नुभएको देखिन्छ । समयक्रममा बाबुराम आचार्य पनि त्यसमा संग्लन हुनुभयो । मेरा पिताजी प्राध्यापक नयनराज पन्तले त्यही दिव्योपदेशलाई नै व्याख्यानको रूपमा संस्कृतमा ३८० श्लोक र नेपालीमा ३८० श्लोक गरी निकाल्नुभयो ।

यतिकै आधारमा दिव्यपदेशलाई किन शंका नगर्ने त ?
शंका गर्नुको एउटा कारण के भने दिव्योपदेशको हस्तलिखित मूलग्रन्थ अहिलेसम्म एक प्रति मात्रै भन्दा बढी पाइएको छैन । एउटा केही बर्गबाट जानी–नजानी वा पृथ्वीका सन्तानलाई हामीले हटायौं भन्ने अहंकार वा गर्वबोधले पनि त्यस्तो कुरा आएको देखिन्छ ।
अढाई सय वर्षअगाडि कुपन्डोलको मान्छेले थापाथलीको ऐश्वर्य भोग गर्न पाएको थिएन । थापाथलीका मान्छेले कुपन्डोलको ऐश्वर्य भोग गर्न पाएको थिएन । त्यसलाई बिर्सेर पृथ्वीप्रतिको आग्रह वा दुराग्रह झल्काउने गरेको पनि देखिन्छ । तर, पृथ्वीनारायण शाह त्यति मात्र होइन । उनले विदेशीको नाचगानलाई रोके, हेर्नैपर्छ भने काठमाडौंका नेवारको मात्रै नाचगान हेर्नु भने । भारतीयको नाच हेर्दा भारततिर जासुसी सूचना जान्छ, आफ्नो पैसा पनि जान्छ भन्ने उनले सोचे । त्यसो त बीचको एउटा समयमा पृथ्वीनारायण शाहको सालिक ढाल्ने देखिका अभियान पनि नेपालमा चल्यो ।
त्यति नै कारणले दिव्योपदेशमाथि शंका गरिहाल्नु जरुरी देखिन्न । किनकि दिव्यपदेशको गुणवत्ता अहिले पनि छ । दक्षिणमा भारत र उत्तरमा चीन भएकाले उनले नेपाललाई दुई ढुंगाको तरुल भने । इतिहासको एक समयमा नेपाल धनी हुनुको कारण भारत–तिब्बतबीचको व्यापार पनि हो । त्यो कुरा अहिले पनि उत्तिकै मुनासिब देखिन्छ ।
केही समयअघि म नुवाकोट पुगेको थिएँ । हनुमानढोकामा जस्तै पृथ्वीनारायण शाहले एक औँला ठड्याएको मूर्ति त्यहाँ देखेँ । शाह राजाहरू एक से एक हुन् भन्ने भाव देखाउन गाउँ फर्क अभियानको पालामा पृथ्वीनारायण शाहको त्यस्तो मूर्ति बनाइएको थियो । इतिहासका पुराना तस्बिरमा कतै पनि पृथ्वीनारायणले औँला ठड्याएको देखिन्न । त्यो त एकथरी शासकको काम थियो । तर, जुन बेला दिव्यपदेश निस्कियो, त्यो उनको महिमामण्डन गर्न निस्केकै होइन ।

दिव्योपदेशको हस्तलेखन कसको थियो भन्नेबारे केही खुल्छ ?
त्यो खुल्दैन ।

त्यसो भए त्यसको प्रामाणिकतामाथि किन शंका नगर्ने ?
प्रामाणिकताबारे जसले जति प्रश्न उठाए पनि समयक्रममा त्यसको खण्डन हुँदै आएको छ । यसबारे प्रश्न गर्नेहरूले पनि गतिलो प्रश्न–प्रमाण दिन सकेका छैनन् । एउटा आग्रहबाट प्रश्न उठेको छ । दिव्योपदेश पृथ्वीनारायण शाहलाई महिमामण्डित गर्न लेखिएको होइन । किनभने त्यो महिमामण्डनको युग नै थिएन ।

दिव्योपदेश पृथ्वीनारायण शाहको भाषणको लिखोट हो वा भाइभारदारमाझ दिएको प्रवचनको टिपोट वा भनाइको सार संक्षेप ?
पृथ्वीनारायण पश्चिम विजय गर्न भन्दै नुवाकोट पुगेका थिए । त्यतिबेला पर्वतका राजाले नेपाली भाषामा लेखेको एउटा पत्र छ, जसमा उर्दू भाषामा हस्ताक्षर छ । पत्रमा ‘गोर्खाका राजा हामीमाथि दागा राखी पश्चिम हान्न भन्दै नुवाकोट आए । तर, उनी आफैँ त्यहीँ विरामी परे’ भन्ने सार छ । उनी बिरामी परे पनि धैर्य र शूर नभएका मान्छे भएको भए त्यहीँ विलौना गरी समय बिताउँथे । त्यही बेला उनले भाइ–भारदारलाई अगाडि राखेर केही कुरा भने । यस्तो उपदेशलाई सबैले आ–आफ्नै ढंगले टिपेका हुन सक्छन् ।
भाइभारदारसामु भनेको कुराको टिपोट नै दिव्यपदेश हो । दिव्योपदेशमा आएभन्दा अरू धेरै कुरा पृथ्वीनारायणले भनेका हुन सक्छन् । अथवा टिप्ने मान्छेले आफ्नो शैलीमा पनि लेखेको हुन सक्छ ।

यतिकै आधारमा यसैलाई सही मान्ने त ? भन्नेहरूले त ‘जित्नेको इतिहास लेखिन्छ’ भन्छन् १
जित्नेको इतिहास हुन्छ, हार्नेको हुँदैन भन्ने नै गलत छ । यो त अप्रामाणिक कुरा हो । यहाँ जित्नेको पनि इतिहास छैन । जस्तो २०६३ सम्म त द्रव्य शाहकै सन्ततिको राज्य थियो नि यहाँ । द्रव्य शाहकै पालाको तात्कालिक पत्र पा शिलापत्र हामीले पाउन सकेका छैनौं । जबकि उनले विसं १६१६ मा शासन गरेका हुन् ।

पृथ्वीनारायणलाई बडामहाराजधिराजको उपाधि कसले दिएको हो ?
मैले गोरखाको इतिहास तयार पार्नका लागि २०३७/३८ सालतिर परराष्ट्र मन्त्रालयका करिब अढाई लाख पुराना कागजात पढेको थिएँ । राजा राजेन्द्रविक्रम शाहलिखित एक लिखोटमा उनले आफूअघिका धेरैजसो राजालाई श्री ५ लेखेका छन् । तर, पृथ्वीनारायण शाहलाई ५२ वटा श्री लेखेका छन् ।
त्यही बेलातिरका कैयन् पुराना पत्रमा पृथ्वीनारायणलाई ‘बडामहाराज’ लेखेको पाइन्छ । रणबहादुर शाहकै शासनकालतिरका पत्रमा पनि यस्तो भेटिन्छ । तर, पछाडि जोडिएको धिराज शब्द भने अधिराज शब्द सन्धि भएर आएको हो ।

एकथरीले पृथ्वीनारायण शाहलाई स्वीकार गर्दैनन् । अर्कोथरीले महिमामण्डन गर्छन् । तपाई कतातिर ढल्किनुहुन्छ ?
पृथ्वीनारायण शाहले गरिबक्सियो, मौसुफ यस्तो होइबक्सन्छ, दिव्यपदेश यस्तो, पृथ्वीनारायण शाहले सम्पूर्ण राम्रो काम गरे भनेर महिमामण्डित गर्छन् एकथरी । पृथ्वीनारायणको सम्झनामा सार्वजनिक बिदा दिनुपर्छ । बिदा दिनु पर्दैन भन्ने पक्षको म होइन । तर, बिदा दिनु आवश्यक छ वा छैन यो विचारणिय कुरा हो । सिन्धुलीको पौवागढीमा भएको विसं १८२४ असोज १५ गतेको नेपाल–अंग्रेज युद्धमा (यो मिति पनि मेरै अनुसन्धानबाट निस्किएको हो) पृथ्वीनारायणले किनलक नेतृत्वको अंग्रेजी सेनालाई हराउन नसकेको भए नेपालको अहिलेको अस्तित्व हुने थिएन ।
हामीले पृथ्वीनारायणलाई वस्तुगत ढंगले हेनुपर्छ । शाहमाथि विश्वविद्यालयले र सबै अनुसन्धानकर्ताले अध्ययन गर्नु जरुरी छ । उनलाई मान्नुपरेको किन हो भने त्यतिबेला पृथ्वीनारायणको अभियान असफल नभएको भए अहिलेको नेपाल सम्भव थिएन ।

Page 21
कोसेली

९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ कहाँ थियो ?

- कान्तिपुर संवाददाता

मार्टिन चौतारीसँग सम्बद्ध इतिहासकार तथा अध्येता प्रत्युष वन्त ‘समाज अध्ययन’ र ‘सिन्हास’ जर्नलका एकजना सम्पादक हुन् । उनको लेखन, सम्पादन र सहसम्पादनमा मिडिया, समाज र इतिहाससँग सम्बन्धित थुप्रै पुस्तक प्रकाशित छन् । नेपाली राष्ट्रवादको इतिहासमा विद्यावारिधि गरेका वन्तसँग पृथ्वीनारायण शाहको नायक–निर्माणसम्बन्धी सेरोफेरोमा सङ्गीत र दीपक सापकोटाले गरेको संवाद :

नेपाली समाज व्यक्तिपूजा र नायकपूजामा बढी रमाएको देखिन्छ । त्यस्तै नायकमध्ये पृथ्वीनारायण शाहको सबैभन्दा बढी चर्चा हुन्छ ? शाह इतिहासको कुन विन्दुदेखि आमपंक्तिमा स्थापित गरिए ?
हो, हाम्रो समाजमा नायक पूजा छ नै । यसबारे धेरैले लेखिसकेका, बोलिसकेका छन् । मैलेचाहिँ प्राज्ञिक अनुसन्धान वा पीएचडी गर्दा मेरो मनमा खेलेको एउटा साधारण प्रश्नलाई लिएको थिएँ । त्यो प्रश्न थियो— मेरो हजुरबाले स्कुल पढ्न त पाउनुभएन तर, उहाँ हुर्किंदा पनि उहाँले मजस्तै पृथ्वीनारायण शाह, भानुभक्त आचार्यको नाम सुन्दै र त्यसबारे कथा पढ्दै हुर्कनुभयो कि भएन ? म आफ्नो पीएचडीको काममा त्यही प्रश्नको उत्तर खोज्न लागें । म महेन्द्रको पालामा जन्मेको मान्छे हुँ । त्यतिबेला मैले पढेको स्कुलको किताबमा नेपालको इतिहास र नेपाली के हो भन्ने कथा कसरी आइपुगे भन्ने प्रश्नको उत्खनन गरेको हुँ । उत्खनन गर्दा दुईवटा कुरा एकदम टाँस्सिएर आएको देखियो । मेरो अध्ययनको निचोड यो हो— पृथ्वीनारायण शाह र भानुभक्त सँगै गाँस्सिएर
आएका छन् । यो मैले पहिले पनि लेखे/बोलेको कुरा हो । त्यो म दोहोर्‍याउन चाहन्नँ ।
भानुभक्त र पृथ्वीनारायणको नायकत्व स्थापनाको आरम्भ सुरुमा नेपालबाहिरबाट भएको देखिन्छ । नेपालबाहिर बनारस, दार्जिलिङ, प्रवासमा बस्न गएका वा बस्न बाध्य पारिएका व्यक्तिलाई नेपाली जाति र पहिचानको खाँचो थियो । बनारसमा मोतीरामको कालमा र त्यसको लगभग ३०–३५ वर्षपछि दार्जिलिङमा सन् १९२३/२४ को हाराहारीमा नेपाली जातिको पहिचान खोज्ने क्रममा सुरुमा भानुभक्तलाई हिरो बनाइयो । त्यसपछि इतिहासकार सूर्यविक्रम ज्ञवालीले १५ वर्षको दौरानमा पाँचवटा किताब लेख्नुभयो । पहिलो द्रव्य शाहबारे, दोस्रो राम शाहबारे, तेस्रो पृथ्वीनारायण शाहबारे, चौथो बलभद्रबारे र पाँचौं अमरसिंह थापाबारे । मेरो अध्ययनले के भन्छ भने सुरुमा उहाँलाई भानुभक्तकै चस्को छिरेको हो । उहाँ बनारसमा जन्मेर हुर्केको भए तापनि, २० वर्षको भइसक्दासम्म उहाँले पढेको नेपालीको रामायणलाई भानुभक्तले उल्था गरेको रामायण भनेर नचिनी ‘सात–काण्ड रामायण’ का रूपमा पढ्दै हुनुहुन्थ्यो । र, उहाँ सन् १८९८ मा जन्मेको र त्यसको २० वर्षपछि मात्रै कसैले उहाँलाई यो रामायण भानुभक्तले उल्था गरेको रामायण हो र ती भानुभक्तमाथि मोतीरामले सन् १८९१ तिरै जीवनी लेखिसकेका थिए भनिदिए । त्यसपछि थाहा पाएर भानुभक्तलाई पुनः खोज्न थालेका हुन् । मैले त्यसलाई रिडिस्कभरी भनेको छु । डिस्कभरी मोतीरामले गरे, रिडिस्कभरी ज्ञवालीले । दार्जिलिङमा जब धरणीधर, सूर्यविक्रम र पारसमणिले २३/२४ मा साहित्य सम्मेलनमार्फतको काम बढाउनुहुन्छ, सुरुमा जातिको पहिचान बढाउन साहित्यकै काम अगाडि ल्याइन्छ । वीरहरूको इतिहास लेख्नुपर्छ भन्ने लागेर सूर्यविक्रम ज्ञवालीले पृथ्वीनारायण शाहबारे लेख्नुहुन्छ ।
म सानो छँदा र हुर्किंदा पृथ्वीनारायण शाहले यो राज्य एकीकरण गरे भन्ने कथा पढें । नेपालीको मानसपटलमा पृथ्वीनारायण शाहकै पालादेखि पृथ्वीनारायणको वीरगाथा चल्थ्यो भन्ठानेर नै हामीले त्यसलाई पढ्यौं । अनुसन्धानको क्रममा चाहिँ त्यो होइन भन्ने थाहा भयो । सुरुमा अघि मैले हजुरबाको पुस्ताको उदाहरण दिएँ । सूर्यविक्रमले पृथ्वीनारायण शाहबारे लेखेको किताब सन् १९३५ मा छापिएको हो, आजभन्दा ८५ वर्षपहिले । सूर्यविक्रम बित्नुभएपछि नेपाली इतिहासकारमध्ये सबैभन्दा ठूला इतिहासकार भन्न मिल्ने (विशेषगरेर नेपालको मध्यकाल र त्यसअघिको इतिहास लेख्ने) धनवज्र बज्राचार्यले सूर्यविक्रमको स्मृतिग्रन्थमा लेखेको एउटा स्मृतिलेखमा भन्नुभएको छ, जब सूर्यविक्रमका किताब हामीले पढ्न थाल्यौं, त्यसपछि मात्र काठमान्डुमा पृथ्वीनारायण शाहबारे हामीलाई थाहा हुन थाल्यो र साथसाथै पृथ्वीनारायण शाहबाहेक आधुनिक नेपालका कुराहरू हामीलाई बढी थाहा हुन थाल्यो । हाम्रा हजुरबा स्कुल जान पाउनुभएन, पाउनुभएको भए सन् १९२० मा पृथ्वीनारायण शाहबारे उहाँले केही पनि पढ्नुहुन्थेन । त्यसको ५० वर्षपछि स्कुल पुगेको मैले र मेरो पुस्ताले चाहिँ पृथ्वीनारायण शाहलाई एकदमै अर्ग्यानिक फिगरको रूपमा पढ्यौं । मानौं पृथ्वीनारायण शाहको पालादेखि नै उनको ‘न्यारेटिभ’ स्थापित थियो भनेजसरी पढ्यौं । मेरो अनुसन्धानले के भन्यो भने, सूर्यविक्रमको किताब प्रकाशित भएदेखि त्यसको ४ दशकभित्रै (विसं १९९० पछिको ४० वर्षमा) पृथ्वीनारायण शाहलाई नायक बनाउने व्यापक काम भयो । शाह मात्र होइन, बलभद्र, अमरसिंह, भानुभक्त, यी सबैलाई नायक बनाइयो । यति छोटो समयमा, २० औं शताब्दीको ३/४ दशकभित्र यी सारा हिरो बनाइएको हो । हामीलाई लागिरह्यो, यिनीहरू सधैं हामीसँगै थिए । तर, थिएनन् । धनवज्रजीले भनेको कुरा हामीले होइन कसरी भन्ने ? यी नायक हुन्, तर २० औं शताब्दीमा बनाइएका ।

पृथ्वीनारायण शाहले दिएको व्याख्यान भनेर प्रचारित ‘दिव्योपदेश’ नामक लिखतबारे पनि सन्देह छ । लोकसाहित्य र लोकस्मृतिका कुनै तथ्यहरूले त्यो लिखत उनकै हो भनेर पुष्टि गर्छन् त ?
यो मलाई थाहा छैन । लोकसाहित्यको अनुसन्धान मैले गरेको छैन । २०औं शताब्दीको सुरुको समयलाई ध्यान राखी लोकसाहित्यमा पृथ्वीनारायण शाहबारे कति अनुसन्धान भए भन्ने विषयमा मलाई थाहा छैन । कसैले लेखेको हुन सक्छ, त्यो मैले देखेको छैन । पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ बारे पत्रपत्रिकामा प्रायः चर्चा चलिरहन्छ । १९९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ लाई रिफर गर्दै लेखिएको कुनै पनि अर्को चीज खासै देखा पर्दैन । यसले विभिन्न किसिमका कौतूहल जन्माउँछ । पृथ्वीनारायण शाहले ‘दिव्योपदेश’ एकै स्थानमा बसेर भनेनन् । यो पनि मानौं, विभिन्न कालमा उनले भनेका कुरालाई कसैले लिखित सामग्रीको रूपमा राख्यो । तर, ९० सालको भुइँचालोसम्म किन यो (दिव्योपदेश) कतै उल्लेख भएन वा प्रकाशमा आएन ? यसको उत्तर खोज्नुपर्छ । यो किन भएन, मलाई थाहा छैन । तर, यसले मेरो अघिको निष्कर्षलाई नै सघाउँछ । सन् १९३४ अर्थात् विसं १९९० मा भुइँचालो जान्छ, त्यसपछि बाबुराम आचार्यले एउटा किताबको एपेन्डिक्समा लेख्नुहुन्छ— फलानो–फलानो बस्नेतको भुइँचालोले भत्काएको घरमा ‘दिव्योपदेश’ भेटियो । र, त्यो टेक्स्ट सूर्यविक्रम ज्ञवालीलाई १९३५ को पृथ्वीनारायण शाहबारे जीवनी–किताब लेख्न उहाँले उपलब्ध गराउनुहुन्छ । नेपालबाट सारेर यहाँबाट उता पठाइएको भनिएको छ । यो चाखलाग्दो प्रसंग हो । त्यो टेक्स्टमा पृथ्वीनारायण शाहलाई शंका नगरौं तर यति लामो समयसम्म हराएर १९३४/३५ तिरै किन निस्कियो ? यसबारे थप अनुसन्धान हुन बाँकी छ ।

पृथ्वीनारायण शाहले आफैँ राखेका शिलालेख, ताम्रलेख भेटिएको चर्चा हुँदैन । उनको शेखपछि भेटिएका भनिएका (अनेकपटक उतारिएका) कागजपत्रलाई उनका भन्ने गरिएको छ । यो कति वस्तुगत र विश्वसनीय छ ?
म त्यो समयमा (पृथ्वीनारायण शाह बाँचेको वर्षहरूबारे) रिसर्च गरेको मान्छे होइन, मेरो रिसर्च २०औं शताब्दीमा हो । त्यसकारण यसको ठोस उत्तर मलाई थाहा छैन । उहाँकै कालमा भेटिएका कागजपत्र, चिठीपत्र वा उहाँकै जीवनीबारे अध्ययन गरेका दिनेशराज पन्तलगायतलाई यी प्रश्न सोध्नुपर्ने हुन्छ ।

इतिहासकारहरूले पृथ्वीनारायण शाहलाई शक्तिशाली, पराक्रमी, शूरवीर, साहसी भनेको पाइन्छ । एउटा व्यक्ति पराक्रमी वा साहसी हुँदैमा राष्ट्र निर्माण हुन्छ कि तत्कालीन ऐतिहासिक परिस्थितिको भूमिका पनि महत्त्वपूर्ण हुन्छ ?
पृथ्वीनारायण शाहबारे पपुलर डिस्कोर्समा भएको र उनलाई नायक बनाउनेहरूको कुरा एक ठाउँमा भयो । हामीले चाहिँ प्राज्ञिकले भनेका कुरा सोच्नुपर्छ होला । सुरुमा नेपालको इतिहास विधामा काम गर्ने बलियो परम्परा नभइसकेको अवस्थामा उनको व्यक्तित्वबारे बढी ठाउँ दिएर केही लेखियो होला । सूर्यविक्रमकै किताब उदाहरण हुन सक्छ । सन् १९७० को अन्त्यसम्म भने २/३ कुरा प्रस्ट भइसकेको थियो । उनी ती गुणले सम्पन्न थिए । उनलाई केही गर्नुपर्छ भन्ने भइसकेको थियो । तर, त्यसको स्रोत के हो र किन सफल भए भन्नेमा २/३ वटा तर्क मानिसले अगाडि सारेका छन् । इतिहासकार महेशचन्द्र रेग्मीले भन्नुभएको छ— गोरखा गरिब राज्य थियो, अरू धेरै राज्यहरूजस्तै त्यो राज्य हाँक्ने मानिसलाई पनि आफ्नो राज्य धनी भएको हेर्ने रुचि थियो । राज्यविस्तार गर्दा आफ्नो जीवनस्तर पनि सुध्रिन्छ, राज्य पनि ठूलो हुन्छ, अनि ठूलो राज्यको ठूलो शासक बन्छु भन्ने विचार उनमा (पृथ्वीनारायणमा) आयो होला । यस्तो विचार गर्ने उनीभन्दा अघि अरू पनि पक्कै थिए होला । उनी नै पहिलो मानिस भन्न मिल्दैन । यत्ति हो कि, उनले राज्यविस्तारको काम गरे । रेग्मी र लुडविग स्टिलरले के भन्नुभएको छ भने कब्जा गरेको भूमिबाटै जागिर दिएर सेनालाई थेग्ने उपाय उनले निकाले र प्रयोगमा ल्याए । पृथ्वीनारायण राजा हुँदाको सुरुको अवस्था र सुगौली सन्धि गर्नुअघिको अवस्थामा आकारका हिसाबले गोरखा अधिराज्य ५ सय गुणा ठूलो थियो । यो १८/१९औं शताब्दीको दक्षिण एसियाको इतिहासमै ठूलो प्रक्रिया हो । यो प्रक्रिया सफल बनाउन पृथ्वीनारायणले जति काम सुरु गरे, त्यसमा उनको भिजन थियो, उनी राम्रा म्यानेजर थिए भनेर स्विकार्नु त पर्छ तर सँगसँगै पञ्चायतकालका पाठ्यपुस्तकहरूमा भनिएजस्तै मात्रै थिएनन् ।
पृथ्वीनारायणबारे सन् १९६४ मा गरेको पीएचडीमा डा. एलएस बराल (साहित्यमा ईश्वर बराल) ले लेखेका छन् : उनी अति चलाख मान्छे थिए । उनी आफूले जित्नुपर्ने राज्यसँग कुन सर्तमा उनीहरूलाई जित्ने वा राज्यलाई कसरी मिलाउने भन्नेमा छलफल गर्न अति जान्ने मानिस थिए । चलाख मात्रै थिएनन्, षड्यन्त्र पनि गर्न जान्दथे । आवश्यक परेको बेला संसारमा उपलब्ध सम्पूर्ण रणनीति प्रयोग गरेर सबैलाई वशमा लिन सक्थे । आफ्नो शत्रुको कमजोरी र शक्ति बुझेर कमजोरीमाथि टेकेर फाइदा लिन उनी जे पनि गर्न तयार हुन्थे, कसैलाई दिएको वाचा पनि उल्लंघन गर्न तयार हुन्थे भन्छन् बराल । उनको प्रक्रियासँगै व्यक्तिगत खुबी पनि राज्य विस्तारको लागि महत्त्वपूर्ण भएको बरालले लेखेका छन् । यी खुबी हामीले ‘महेन्द्रमाला’ किताबमा पढेजस्ता राम्रैराम्रा खुबी मात्रै थिएनन् भन्न खोजेको हुँ मैले ।

उनलाई लोकतान्त्रिक युगमा पनि ‘एकीकरणकर्ता’, ‘एकताका प्रतीक’ विशेषण र ‘बडामहाराजाधिराज’ उपाधि दिनु कत्तिको उपयुक्त हो ?
उनलाई नायक बनाउन सन् १९३० पछि जे काम भयो, यो त्यसैको उपज हो । सन् १९३५ मा सूर्यविक्रमको किताब निस्कियो । त्यसका टेक्स्टहरू परिमार्जित हुँदै मैले पढेकोमा मात्र होइन, म पछिको पुस्ता तपाईंहरूले पढेको पाठ्यपुस्तकसम्म उनको गुणगान आइपुग्यो । मैले सानोमा पढेको थिएँ— पृथ्वीनारायणले भूभाग एकीकरण गरे, भानुभक्तको रामायणले भावनात्मक एकीकरण गर्‍यो । उनले सुरु गरेको र सुगौली सन्धिसम्म पुग्दा त्यो आकार ५ सय गुणा ठूलो हुनु भूभाग जोड्नु नै हो । सुगौली सन्धि हुँदा त उनी बितिसकेका थिए । राष्ट्रवादी न्यारेटिभमा त्यही भूभाग विस्तारलाई एकीकरण भनियो । लोकतान्त्रिककालमा त्यसलाई एकीकरण भन्ने कि नभन्नेमा ठूलो विवाद जन्मेको छ । थुप्रै प्रक्रियाबाट जमिन जुटाएका कारण उनी ‘बडामहाराज’ भनिएका पनि हुन् । तर, लोकतन्त्रमा त्यसो भन्नेहरूको मात्रै स्पेस हुनुहुँदैन । राज्यले वा राज्य हाँक्नेहरूले कसैलाई नायक बनाएर एकीकरणको श्रेय दिन चाहन्छ भने पनि लोकतन्त्रमा त्यो एकीकरण मात्र थिएन, यस्ता अन्य पक्ष पनि थिए है भन्ने मान्छेहरू र उनलाई ‘बडामहाराज’ भनिहाल्नुपर्दैन भन्ने मान्छेहरूलाई पनि आमवृत्तमा ठाउँ हुनुपर्छ । यसरी ठाउँ नहुने हो भने म जन्मे–हुर्केको पञ्चायतकाल र लोकतन्त्रमा कुनै फरक हुँदैन । यो बहस निकै स्वस्थ बहस हो । पृथ्वीनारायणको आलोचना गर्दा कसैले जुत्ता हान्दैन भन्ने डरबिना यस्तो बहस गर्न सक्यौं भने मात्रै त्यो बहस स्वस्थ हुनेछ । प्राज्ञिक भनिएकै सभामा पृथ्वीनारायणबारे प्रश्न उठाउँदा पीएचडी गरेकै मान्छेले जुत्ता फुकालेर हान्न खोज्छ भने त्यो लोकतन्त्रका लागि डर हो ।

गणतन्त्रपछि पनि चन्द्रागिरिमा पृथ्वीनारायणकै सालिक बनाउने, राष्ट्रपतिले त्यसको उद्घाटन गर्ने, प्रधानमन्त्री त्यहीँ पुगेर कविता रच्ने, पुस २७ मा सरकारी निकायले प्रभातफेरी निकाल्नेजस्ता उपक्रम धुमधामसहित भइरहेका छन् नि ?
देवेन्द्रराज पाण्डेले केही साताअघि मार्टिन चौतारिकै कार्यक्रममा हाम्रो लोकतन्त्र प्राणबिनाको लोकतन्त्र हुन लाग्यो कि के हो भनेर चिन्ता उठाउनुभयो । प्राणबिनाको लोकतन्त्रमा हुने भनेको पञ्चायतले जे सिकायो, त्यही गर्ने हो । सालिक बनाउने, नायकको नाममा पार्क बनाउने, उनकै नाममा टेक्स्टबुक बनाउने, उनकै नाममा स्कुल खोल्ने, पुरस्कार थाप्ने ! नयाँ गर्न नजानेपछि गर्ने त्यही हो । लोकतन्त्रमा ती सबै गर्दागर्दै पनि लोक नै सबैभन्दा सर्वोपरि हुन्छन् भन्ने ठानेर लोकलाई प्रतिनिधित्व गर्ने अरू काम पनि गर्ने हो । पृथ्वी प्रज्ञा पुरस्कार दिनु अनौठो होइन, सँगै अरू अनुसन्धानको काम पनि हुनुपर्‍यो । हाम्रो (नागरिकको करबाट जम्मा भएको) पैसा प्रयोग गरेर हामीलाई काम लाग्ने अध्ययन–अनुसन्धानको काम पनि सँगै गरे भइहाल्यो । प्रभातफेरी गर्दै गरून्, मन नलागे नगए भैगो । त्यो पनि नभइरहँदा ज्यान लोकतन्त्र भएको तर, प्राणचाहिँ अर्कै तन्त्रको हो कि भन्ने देखिन आयो ।

अहिलेको पुस्ताले पृथ्वीनारायणको भूमिकालाई कसरी सम्झोस् वा समीक्षा गरोस् भन्ने ठान्नुहुन्छ ?
नयाँ पुस्ताले आफ्नोबारेमा आफैं सोच्ने हो । इतिहास पढ्न के प्रश्न बनाउने भनेर त्यही पुस्ताको मानिसले सोच्ने हो । कसकसलाई नायक बनाउने भन्ने आधारभूत प्रश्न हो भने सोच्नुपर्‍यो— पञ्चायतकालमा नायक बनाइएका मानिसलाई नै लोकतन्त्रमा पनि नायक बनाउने कि नबनाउने ? बनाए कति चरणसम्म ? त्यो सोच्नुपर्‍यो । कसैलाई नायक बनाउन मन पर्‍यो भने पनि अरू किसिमको न्यारेटिभलाई पनि प्रोत्साहन गर्ने मूल्य–मान्यताबारे राज्यले के गरिरहेको छ ? त्यो पनि सोच्नुपर्छ । त्यो नहुने हो भने राज्यको कोर चरित्रमा म जन्मेर हुर्केको काल र अहिलेको कालमा केही पनि फरक छैन भन्नुपर्ने हुन्छ । त्योबेला पनि पृथ्वीनारायणकै गुणगान, अहिले पनि उनको मात्रै गुणगान हुने हो भने त केही फरक भएन नि ! जसलाई पृथ्वीनारायणकै गुणगान गर्न मन छ, त्यो उनीहरूको लोकतान्त्रिक स्वतन्त्रता भयो, त्यही गरे भइहाल्यो । लोकतन्त्रमा लोकका आधारमा हामीले त्यति मात्र नगरौं भनेर तर्क गर्ने हो ।

हामी लोकतन्त्र आयो त भन्छौं । तर, आमवृत्तमा आलोचनात्मक बहस नहुनुका कारण के होलान् ?
मैले विद्यार्थीकाल अर्थात् वयस्क जीवनको सुरुका धेरै वर्ष नेपालबाहिर बिताएँ । नेपालका राजनितीमा प्रशिक्षित हुने मौकाबाट वञ्चित भएँ । कलेज नेपालमा पढिनँ । त्यसको बेफाइदा, केही शब्दहरूको कोशमा पाइने व्याख्याहरूलाई नै खास सत्य मानेर, सोचेर संसारबारे अपेक्षा बनाइँदोरहेछ । जसले पञ्चायतविरुद्ध लामो संघर्ष गरे, प्रजातन्त्रवादी वा प्रगतिशील भन्नेहरू, लोकतन्त्रपछि उनीहरूले आफ्नो मूल्यमान्यताअनुरूप समाजमा ती मूल्यमान्यता स्थापना गर्न भयंकर काम गर्छन् भन्ने सोचेर धेरै वर्ष म त्यो भ्रममा बाँचे । त्यो होइनरहेछ । हो रहेछ के भने पञ्चायतमा एकथरी शासक थिए, ती शासकलाई हटाएर उनीहरू आफू शासक हुन खोजेको मात्र रहेछ । एकेडेमीको लोकतान्त्रिकरणबारे चर्चा हुँदा एक जना ठूला मान्छेले बहसमा उत्तर दिए, ‘देशमा एकेडेमी हुन्छ र एकेडेमीले किताब छाप्छ ।’ अब त्यस्तो हठ राख्नेसँग बहस कसरी गर्ने ? एकेडेमी हुन्न भनेर मैले भनेको छैन, कसैले भने होलान् । हाम्रो बहस त लोकतन्त्रमा हुने एकेडेमीले राजतन्त्रमा स्थापना भएको एकेडेमीले भन्दा कसरी फरक काम गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ । त्यस्तो बहस नहुने हो भने त्यहाँ एक सेट प्राज्ञलाई अर्को सेट प्राज्ञले रिप्लेस गर्ने कुरा मात्र आउँछ । अहिलेको लोकतन्त्रमा यी प्रश्नको स्पेस खुम्चेको हो कि भन्ने अनुभूति हुन थालेको छ । एकदमै खुम्चिसकेको छैन, एकदमै खुम्चिन दिनु पनि हुँदैन । हामी बोलिरहनुपर्छ, हामीले भनिरहनुपर्छ— लोकतन्त्रको प्राण के हो ?

Page 22
कोसेली

उडान नं. आईसी–८१४

- मनबहादुर बस्नेत

दुई घण्टा ढिलो भएपछि विमानकी सहयात्री रचना कत्यालसँग चिनापरिचय भयो, शान्ति श्रेष्ठको । नवविवाहित कत्याल दम्पती हनिमुनमा काठमाडौं आएको चुराबाट चिनिन् शान्तिले । कुरैकुरामा शान्तिले रचनासँग भनिन्, ‘कहिल्यै प्लेन चढेको छैन । एकदमै डर लागिरहेको छ ।’
‘चिन्ता नगर्नू, हामी छौं नि,’ सँगै श्रीमान् भए पनि रचनाले ढाडस दिएपछि शान्ति थप ढुक्क बनेकी थिइन् ।
तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट उडेको जहाज केहीबेरमै आतंकवादीको कब्जामा पर्‍यो । ९ पुस ०५६ मा यस्तो त्रास भोग्ने विमानमा श्रेष्ठसहित १ सय ७६ यात्रु र १५ सदस्यीय चालक दल थिए । त्यसमध्ये ८ जना नेपाली ।
इन्डियन एअरलाइन्सको आईसी– ८१४ विमान उडेको १५ मिनेटमै मास्क लगाएका हतियारधारीले हलचल नगरी टाउको निहुराउन आदेश दिए । पाइलटलाई पेस्तोल तेर्स्याए । विमान दिल्लीतिर होइन, जताजता अपहरणकारीले भन्छन् उतैउतै उड्न थाल्यो ।
अपहरण शब्द सुन्नासाथै शान्तिले आफूले लगाएका गरगहना पोको पारेर अपहरणकारीको हातमा
राख्न खोजिन् । ‘आफैं राख्नू,’ अपहरणकारीले सुन बेवास्ता गर्‍यो ।

विमान अपहरणमा परेको दिल्लीस्थित नेपाली दूतावासले खबर पायो । राजदूत भेषबहादुर थापा जयपुर गएकाले दूतावासका उपप्रमुख मदनकुमार भट्टराई प्रमुखको जिम्मेवारीमा थिए । ‘तुरुन्तै परराष्ट्र मन्त्रालयमा खबर गरें,’ भट्टराई सम्झन्छन् । भट्टराई भारतीय सूत्रमार्फत अपहरणको सूचना अपडेट गर्दै नेपाल पठाउँथे । अपहरित विमान अमृतसर विमानस्थलमा तेल भर्न अवतरण भयो । ‘त्यहाँ भारतले अपरेसन गरेर यात्रुको उद्धार गर्लाजस्तो लागेको थियो । त्यस्तो अपुष्ट सूचना आएको पनि थियो,’ भट्टराई सम्झन्छन्, ‘तर, त्यहाँ केही नभएपछि हामीले माया मार्‍यौं ।’
अमृतसरमा अवतरण हुँदा भारतका लागि आफ्नो भूमिबाट विमान उम्कनुअघि नै द्रुत गतिमा रणनीतिक काम गर्ने चुनौती थियो । उद्धार अपरेसन गर्ने तयारी गरिरहेका भारतीय अधिकारीहरूमा भने विमानभित्र रहेका आफ्नो खुफिया संस्था रअका एक जना अधिकारी अपहरणकारीको पहिलो निसाना हुन सक्ने भय थियो । तर, कमाठमाडौं मिसनमा काम गर्ने रअका शशिभूषण सिंह तोमार विमानभित्र छन् भन्ने अपहरणकारीलाई पत्तै थिएन । तोमारले पनि आफूलाई लो प्रोफाइलमा राखेर त्यस्तो सुइँको नदिएको रअका पूर्वप्रमुख एएस दुलतले आफ्नो संस्मराणात्मक पुस्तकमा लेखेका छन् । यस्तो अनुमानले आफ्नो भूमिभित्रै विमान छँदा भारत रणनीति चाल्न चुक्यो ।
पर्याप्त इन्धनबिनै अमृतसरबाट विमान उड्यो । इन्धन भर्न नजिकै सीमापार पाकिस्तान लाहोरको विमानस्थलमा अवतरण गर्न खोज्यो । तर, अनुमति पाएन । बलजफ्ती बस्न खोज्दा विमानस्थलले बत्ती निभाइदियो । विमान चालकले नजिकैको सडकतिर अवतरण गर्न खोजेपछि फेरि बत्ती बालियो र विमान बस्यो । ‘त्योबेला मैले आँखा चिम्लिएँ,’ अपहरित विमानभित्र रहेकी शान्ति सम्झन्छिन्, ‘आँखा खोल्दा आफूलाई जिउँदै पाएँ । सपनाजस्तो भयो । ती पाइलट भगवान् हुन् । सडकमै ठोक्किइसकेको विमानलाई जोगाएर फेरि धावनमार्गमा पुर्‍याए ।’

त्रासद ती दिन
अपहरणलगत्तै यात्रुको आँखामा बाँधिएको पट्टि अपहरणकारीले कहिले खोल्न भन्थे, कहिले बाँध्न । केही पश्चिमा यात्रुको त हातसमेत बाँधिदिएका थिए । आपसमा चिनजान भएका, एउटै भाषा बोल्नेलाई एकै ठाउँ बस्न दिएनन् । ‘श्रीमान्लाई पछाडि लगे । मलाई अगाडि राखे । यसैगरी सबैलाई छरपस्ट पारे,’ श्रेष्ठ भन्छिन्, ‘हामी एकअर्कालाई देख्नसमेत नपाउने भएपछि म बेस्सरी रोएँ ।’
विमान लाहोरबाट संयुक्त अरब इमिरेट्स पुर्‍याइयो । त्यतिबेलासम्म एक जना भारतीय यात्रु रूपेन कत्याललाई अपहरणकारीले चक्कु प्रकार गरेर मारिदिए । यो घटनाको ८ दिनपछि अपहरणमुक्त हुँदासमेत उनकी श्रीमती रचनालाई थाहा थिएन । जहाज चढ्न डर लाग्छ भन्दा श्रेष्ठलाई केही हुँदैन भनेर बल दिने रचना स्वयं जीवनको अपूरणीय खतिले पुरिएको उनैलाई थाहा भएन ।
दुबईमा भारतले अपहरणकारीविरुद्ध अपरेसनको तयारी गरेको थियो । हातहतियारसहित स्पेसल एक्सन ग्रुपका ५२ जनाको टोली तैनाथ थियो, हवाई फौजको आईएल–७६ विमानमा । तर, दबईले अनुमति दिएन ।

शान्ति श्रेष्ठ

अपहरणपछि कहाँकहाँ पुगियो श्रेष्ठले पत्तो पाइनन्, अमृतसरबाहेक । कहिले बेस्सरी गर्मी हुन्थ्यो । कहिले आँत काप्ने जाडो । ‘एक ठाउँमा त अति गर्मी भएपछि आङका कपडा नै च्यातिदिएँ,’ भन्छिन् । अपहरणकारी पेस्तोल, बमसहित विमानभित्र डुलिरहन्थे । शान्तिले पाँच अपहरणकारीमध्ये एक अलि नम्र स्वभावको भएको भेउ पाइन् । डिप्रेसनकी बिरामी शान्तिले औषधि खानुपर्थ्यो । औषधि खान पाए निदाइएला र यो त्रासबाट केहीबेर भए पनि मुक्ति मिल्ला भन्ने सोचिन् । त्यसैले नम्र स्वभावको अपहरणकारी नजिकै आएको बेला समस्या सुनाइन् । उसले कञ्चटमा पेस्तोल ताकेर झोला भएको ठाउँमा पुर्‍यायो । ‘जे गरे पनि मर्ने नै हो । बरु औषधि खाएर मर्छु भनेर आँट निकालेकी थिएँ,’ उनले भनिन्, ‘मेरो भाग्य, झोला माथि नै रहेछ ।’ यो औषधि खाएपछि निद्रा पर्ने थाहा पाएका अन्य यात्रुले पनि उनको औषधि मागे ।
अपहरणकारीले दुई–तीन पाना बिस्कुट एअर होस्टेजलाई बाँड्न लगाउँथे । त्यही बेला मात्र पानी एक–दुई घुट्को दिन्थे । अपहरणकारीले बाँड्न लगाएका खानेकुरा एअरहोस्टेजले नेपालीलाई दिन नमानेको शान्ति बताउँछिन् । ‘दिए पनि गाली गर्दै दिने,’ भन्छिन् । नेपालीप्रति यस्तो रूखो व्यवहार भारतीय यात्रुले पनि देखाए । ‘तिमीहरूको देशमा सुरक्षा राम्रो नभएकाले हामीले दुःख पायौं,’ अधिकांश भारतीय यात्रुको व्यवहार सम्झँदै उनी भन्छिन् ।
यस्तो आरोप भारतले दिल्लीमा पनि लगाउँदै थियो । अपहरणको भोलिपल्टदेखि त्यहाँका राजनीतिक दलसम्बद्ध विद्यार्थी/युवा संगठनले दिल्लीको नेपाली दूतावास अगाडि प्रदर्शन थाले । दूतावासमा ज्ञापन बुझाए । भारतीय टेलिभिजन च्यानल जीन्युजले त अपहरित नेपाली यात्रु गजेन्द्र ताम्राकारलाई अपहरणकारी करार गरेर समाचार प्रसारण गरेको थियो । ‘नेपालको सुरक्षा चुक्नुमा आफ्नो विमान अपहरण भएकोले छानबिन गर्न ज्ञापन दिएका थिए,’ पूर्वपरराष्ट्रसचिव समेत रहेका भट्टराई भन्छन्, ‘दूतावासअगाडि उनीहरूले विरोध पनि गरे ।’

बिस्कुट र पानीको भरमा हिँडाइरहेका अपहरणकारीले यात्रुलाई अचानक नानरोटी दिए । अफगानिस्तानबाट पाकिस्तान आउने शरणार्थीलाई सहायता गर्ने एक संस्थामा कार्यरत एक नेपालीले उक्त खाना अफगानी भएको चिनेछन् र अन्य यात्रुले आफूहरू अफगानिस्तानमा रहेको चाल पाए । जहाज बिसाइएको विमानस्थल थियो, कान्दहर । यही ठाउँमा अपहरणकारी संस्था इस्लामिक आतंकवादी समूह हर्कत उल मुजाहिद्दिन र भारत सरकारबीच वार्ता भयो । मध्यस्थता अफगानिस्तानको तालिबानी सरकारले गरेको थियो ।
१२ पुस । भारतीय सरकारी अधिकारीले तालिवान सत्तासँग पहिलोपटक सम्पर्क गरेको दिन ।
तालिावानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानको ९० प्रतिशत भूगोल कब्जामा लिएर आफ्नो सरकार चलाएको थियो । संयुक्त राष्ट्रसंघले भने बाँकी १० प्रतिशत अफगानिस्तानमा राज गरिरहेको नर्दन एलाइन्सको सरकारलाई वैधता दिएको थियो । पाकिस्तान, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाले मात्रै तालिवान सत्तालाई मान्यता दिएका थिए । इस्लामावादबाट नेपाली कूटनीतिज्ञ युगनाथ शर्मा पौडेल (हाल दिवंगत) समेत कान्दाहर पुगेका थिए । ‘तर, हामीले त्यहाँ गर्न सक्ने केही थिएन,’ भट्टराई भन्छन् ।
अपहरणकारीले भारतीय जेलमा थुनिएका आफ्ना नेता तथा कमान्डर छोड्नुपर्ने र २ सय मिलियन डलर फिरौती दिनुपर्ने सर्त राख्यो । विमानमा विश्वको मुद्रा छपाइको ९० प्रतिशत हिस्सा ओगट्ने कम्पनी द ला रियु जिओरीका मालिक रोबर्टो जिओरी दम्पती पनि थिए । तर, कसैलाई थाहा थिएन, यो जोडीले सर्लक्क यति रकमको चेक त्यही काटिदिन सक्छ भन्ने । यो दम्पतीलाई छुटाउन एउटा स्विस टोली कान्दाहर पुगेको थियो ।
अन्ततः ६ दिनको वार्ताबाट मुजाहिद्दीनका नेता मौलाना मसुद अजहर, अहमद ओमार सइन शेख, मुस्ताक अहमद जरगारलाई छोड्न भारत राजी भयो । बदलामा बन्धक यात्रु छोडिए ।

क्रिसमस इभमा अपहरित यात्रु न्यु इअर इभमा दिल्ली उत्रिए ८ दिनमा । नेपाली दूतावासका चारवटा गाडी नेपाली यात्रु लिन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ थिए । दूतावासले ७ जनालाई ल्यायो । तर, एक जना छुटे । भट्टराई भन्छन्, ‘भारतमा नेपालीका लागि भिसा नचाहिने भएकाले ती यात्रु विमानबाट ओर्लेर कतै गएका हुन सक्छन् ।’ उनी को थिए ? भट्टराईलाई सम्झना छैन ।
आफ्ना यात्रु मुक्त भएको खुसीमा दूतावासको चउरमा सानोतिनो न्यु इअर पार्टी राखियो । आफन्तलाई फोन गर्ने सुविधा दिइयो । ‘उनीहरूले ४ घण्टासम्म फोन प्रयोग गरे,’ भट्टराई सम्झन्छन् । त्यसपछि दूतावासले परराष्ट्रमन्त्री रामशरण महतको आदेशमा सबैलाई सरकारी खर्चमा टिकट काटेर काठमाडौं पठायो ।

त्रासद घटनाबाट उम्किएकी शान्तिलाई अहिले पनि विमान चढ्दा त्यो दिनले झस्काउँछ । घटनाको १० वर्षपछि अमेरिकाको टेक्सासमा रहेका छोराबुहारी भेट्न जाँदा आफू त्यति लामो यात्रा अनिदै गुजारेको सुनाउँछिन् । ‘अब हामीलाई नर्क गइराख्नुपर्दैन । त्यही बेला देखियो,’ उनलाई यस्तै लाग्छ । शान्तिले पछि चाल पाइन्, अपहरणकारी अरू यात्रुसँगै थिए काठमाडौं विमानस्थलमा । ‘उनीहरूका झोला लामालामा र ठूला थिए,’ शान्ति २० वर्षअघि फर्किइन्, ‘हाम्रो लगेज एक्सरेमा जाँच भयो । तर उनीहरूका त्यत्रा झोला त्यत्तिकै पास भएका थिए ।’ दुई दशकअघि टीआईएको सुरक्षा कति लापरबाहीपूर्ण रहेछ ? श्रेष्ठको अनुभव काफी छ । विमान अपहरणको योजना अजहरका भाइले बनाएका थिए । १० जनाले एक वर्ष विभिन्न मुलुकका विमानस्थल अध्ययनपछि नेपाललाई अनुकूल ठहर्‍याएका थिए ।
टीआईएको सुरक्षा चिन्ता दुई दशकपछि पनि उस्तै छ । अमेरिकी विदेश मन्त्रालयले कात्तिकमा जारी गरेको आतंकवादसम्बन्धी प्रतिवेदनमा टीआईएको सुरक्षाबारे यात्रीको प्रि–स्क्रिन नहुने, शरीर जाँच सामान्य खालको रहेको लगायतका आधा दर्जन गम्भीर त्रुटि औंल्याइएको छ । यस्तो खोट अमेरिकाले नेपालबाट विमान अपहरणको दुई वर्षपछि सन् २००२ देखि निरन्तर औंल्याउँदै आए पनि सुधार मन्द छ । लागूऔषध, सुन तस्करीदेखि नक्कली नोट ओसारपसारमा यही मार्ग अत्यधिक प्रयोगमा छ । ‘विमानस्थलको सुरक्षा भरोसायोग्य छैन,’ पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, ‘सुरक्षाका धेरै मापदण्ड पुर्‍याउन सकिएको छैन ।’
विमान अपहरण काण्डले थुप्रै रहस्यमयी प्रश्नहरू जन्माएर गएको छ । र, यी प्रश्नहरूको जवाफ अनुमानमा मात्रै भेटाउन सकिनेछ ।

कोसेली

आयुको आँखीझ्याल

मानिस कसरी पुरातन, अन्धविश्वासी र धर्मभीरु हुन्छ ? धर्म र पाप, स्वर्ग, नर्क देखाएर कर्मकाण्डको धन्दा र गलत आश्रमका नौटंकीले यसलाई विरूप बनाएका छन् ।
- कृष्ण खनाल

मानिस दीर्घायु चाहन्छ । जन्मिएपछि प्राणीको मृत्यु अपरिहार्य छ, कहिले र कसरी भन्ने मात्र फरक हो । बाल, युवा, वृद्धत्व र मृत्यु मानव जीवनको स्वाभाविक चक्र हो । मृत्युको त कुरै छाडौं, बूढो हुन र भनिन पनि कसैलाई मन पर्दैन । बुढ्यौली लागेपछि मानिसका छाला चाउरी पर्न थाल्छन्, हड्डी मक्किन थाल्छ । शरीर शिथिल हुन्छ, कम्मर झुल्छ, छाती खुम्चिन्छ, डँडाल्नो कुप्रिन्छ । कान कम सुनिन्छ र दृष्टि पनि कमजोर हुन्छन् । आफ्नो अवस्था यस्तो हुनु कसैलाई मन पर्ने कुरा होइन । तर, मृत्युजस्तै वृद्धत्व पनि अपरिहार्य छ । अल्पायुमा हुने मृत्युबाहेक कोही पनि यसबाट मुक्त हुन पाउँदैन । शरीर स्वस्थ रहे पनि बुढ्यौली छिप्दैन, महिला हुन् वा पुरुष यो यथार्थ हो । अस्वस्थ शरीर त बुढ्यौलीमा अभिशाप नै हो ।
६५ वर्षदेखि माथिलाई वृद्धत्व मान्ने हो भने सन् २०१९ को तथ्यांकअनुसार, अहिले विश्वमा वृद्धत्वमा प्रवेश गरेका मानिसको संख्या ९ प्रतिशत छ । नेपालमा २०११ को जनगणनाअनुसार, यो संख्या ५.२७ प्रतिशत छ, हरेक वर्ष बढ्दै छ । नेपालीको सरदर उमेर अहिले ७१.७४ पुगेको अनुमान गरिन्छ । पुरुषभन्दा महिलाको जीवन दर २ प्रतिशतले माथि छ अर्थात् वृद्धत्वमा पुगेका महिला पुरुषभन्दा बढी छन् । शिक्षित र सम्पन्न परिवारमा ८० नाघेका मानिस धेरै देखिन्छन् । आयु वृद्धि राम्रो कुरा हो, मानव विकासको एउटा सूचक पनि । तर, विचारणीय कुरा के हो भने पाको उमेरका मानिस अर्थात् ज्येष्ठ नागरिक स्वस्थ्य र सुखी पनि रहुन् । वृद्धत्व आफू, परिवार, राज्यलगायत कसैका लागि पनि बोझिलो नहोस् । यो कसरी हासिल गर्न सकिन्छ ?
जैविक वृद्धत्व अपरिहार्य छ । तर, मानसिक वा बौद्धिक वृद्धत्वमाथि विजय प्राप्त गर्न सकिन्छ । यो विषयमा पूर्वीय र पश्चिमा चिन्तन एवं तदनुरूप लेखनको कमी छैन । तर, यी दुवैका सारको एकीकृत लेखन भने कमै छन् । रवीन्द्रप्रसाद प्रधानले भौतिक तथा अध्यात्म ज्ञान र विज्ञान दुवैको सन्दर्भसहित आफ्नो पुस्तक ‘वृद्धत्वविज्ञान’ मा सविस्तार विवेचना गरेका छन् । खप्तडबाबाको सत्संग र सान्निध्य पाएका प्रधानको यो पुस्तकमाथि विमर्श गर्न अध्यात्म चिन्तनको सन्दर्भ पनि आवश्यक हुन्छ ।
पुस्तकको मुख्य सार कसरी पूर्ण आयु जिउने, आयु वृद्धिसँगै कसरी स्वस्थ र उपयोगी हुने भन्ने छ । लेखक भन्छन्, जब उमेर ढल्किन थाल्छ, मानिसलाई बुढेसकाल लाग्छ । शारीरिक र मानिसक सामर्थ्यमा कमी हुन्छ । यो स्वाभाविक प्रक्रिया हो । जन्म–उमेर अर्थात् जैविक उमेर परिवर्तन गर्न सकिन्न । तर, बुढेसकालमा पनि स्वस्थ र आरोग्य जीवन जिउन सकिन्छ । शरीर अणुहरूको झुन्ड हो । आहारविहारले शरीरका अंगमा प्रत्यक्ष प्रभाव पार्छ । मनबाट प्रवाहित हुने विचारचाहिँ तरंगहरूको समूह हो । यसले सोझै इन्द्रियलाई प्रभाव पार्छ र सोअनुसार गर्न गराउन निर्देशित गर्छ । संयमित र सन्तुलित आहारविहार र व्यायामले शरीरलाई ठीक राख्छ भने इन्द्रिय निग्रहले मनलाई स्थिर राख्छ । यी दुवैको सन्तुलनले शरीरमा तारुण्यता र आरोग्यता प्रदान गर्छ ।
बुढ्यौलीतर्फ लागेकाका लागि मात्र होइन, यो पुस्तक युवाका लागि पनि उत्तिकै उपयोगी छ । स्वास्थ्यका कुरा बुढ्यौलीमा मात्र सोचेर पुग्दैन, बाल्य र युवावस्थादेखि नै सचेत रहनुपर्छ । बुढ्यौली चाँडै आउन नदिन सन्तुलित आहारविहार, मर्यादित जीवनशैली, नियमित प्राणायाम, ध्यान, योगाभ्यास, स्वास्थ्यप्रतिको सावधानी मुख्य कुरा हुन् । यसको नियमित पालना गर्न सके युवा, प्रौढ वा वृद्धावस्थाले खासै प्रतिकूल प्रभाव पार्दैन । आरोग्य, दीर्घायु र पूर्ण जीवन जिउन सकिन्छ ।
पुस्तकमा लेखकले मानव शरीरको महत्त्व, आरोग्यता र आयुका विविध पक्षमा पूर्वीय र पश्चिमा ज्ञानको तुलनात्मक विवेचना गरेका छन् र निचोडमा कसरी उमेरको वृद्धिसँगै मानिसले आफ्नो शरीर र मन दुवैलाई सन्तुलनमा राखेर आरोग्य र तारुण्यता कायम गर्न सक्छ भन्ने विचार प्रस्तुत गरेका छन् । ६ सयभन्दा बढी पृष्ठको यो पुस्तक निश्चय पनि निकै ठूलो छ । पूरै पढ्न ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ, समय पनि लाग्छ । पहिलो खण्डमा वृद्धत्वको स्वरूपलाई ज्ञान र विज्ञानको पक्षबाट विवेचना गरिएको छ । ५३ पृष्ठ लामो यो खण्ड एक प्रकारले पुस्तकको सारांश भने पनि हुन्छ । यति मात्र पढे पनि पुग्छ । बाँकी अर्थात् दोस्रो खण्ड विस्तारित ज्ञान र सन्दर्भका लागि उपयोगी छ ।
लेखक भन्छन्— शारीरिक काम गर्न सक्ने मानिस चाँडो बूढो हुँदैन । त्यस्तै बढी उमेर भएर मानिस बूढो हुने होइन । काम गर्ने शक्तिमा आएको ह्रासका कारण मानिस बूढो हुने हो । शरीरको स्वस्थता अर्थात् आरोग्यताले मानिसको बललाई सुरक्षित राख्छ । तर, विचारणीय पक्ष के हो भने मानसिक स्वस्थताको अभावमा आरोग्यता सम्भव हुँदैन । त्यसका लागि आध्यात्मिक चिन्तन र साधना पनि चाहिन्छ । अध्यात्म चिन्तनले विचारको शुद्धीकरण गर्छ । जब विचार उत्तम हुन्छन् र सद्मार्गमा चल्न थाल्छन् शरीरमा तेज, बल, आरोग्य र ऐश्वर्य आफैं बढ्न थाल्छ । २०६७ सालमा प्रकाशित यो पुस्तक अहिले बजारमा उपलब्ध छैन । मैले पनि एक मित्रको सौजन्यमा पढ्न पाएको हुँ । छोटो र छरितो खालको पुनर्प्रकाशन अपेक्षित छ ।
विभिन्न अध्ययन अनुसन्धानको सन्दर्भ दिंदै लेखक भन्छन्— जन्मसँगै २० वर्षसम्म मानिसको शारीरिक विकास तीव्र गतिमा हुन्छ । ३० वर्षसम्म यो क्रम चलिरहन्छ । ४० वर्ष पुग्दा शरीरका सबै धातु उपधातु पूरा हुन्छन् । यो बेलामा इन्द्रियहरू सबल हुने, शारीरिक बल पर्याप्त हुने भएकाले यसलाई यौवनावस्था भनिन्छ । शरीर स्वस्थ रहे यो अवस्था ५५–६० वर्षसम्म पनि कायम रहन्छ । त्यसपछि शरीरका गुणहरू क्रमशः क्षीण हुन थाल्छन् । मांसपेशी, स्नायुहरू खुम्चिन थाल्छन्, लचकतामा कमी आउँछ । ७० पुगेपछि वीर्य कम हुन थाल्छ । ८० पछि शरीरको बल ह्रास हुन्छ । १०० वर्ष पुग्दा हात–गोडा, कर्मेन्द्रीय शिथिल हुन्छन् । शतायु मानिसको परम आयु हो । तथापि १२० वर्ष पुग्दा शरीर टिक्न सक्तैन । अपवादमा एकाध जन यसभन्दा बढी बाँचेका पनि छन् ।
लामो समय हवाई उडानमा जीवन बिताएका लेखकलाई भोग विलासको जीवन पक्कै कमी थिएन होला । खप्तड बाबाको सत्संग पाएका उनको जीवन दर्शनमा अध्यात्मको प्रभाव पनि उत्तिकै गहिरो देखिन्छ । त्यसैले पुस्तक अध्यात्म ज्ञान र भौतिक विज्ञानका स्थापित मान्यताले भरिएको छ । कतिपय मानिसलाई लाग्न सक्छ, धार्मिक निष्ठा र अध्यात्म चिन्तन भनेको भौतिक सुख त्याग्नु हो जुन छाड्न मानिस हत्तपत्त तयार हुँदैन । त्यसैले ऊ यस्ता कुराबाट पर भाग्न खोज्छ । तर, लेखक खप्तडबाबाको धर्मविज्ञानलाई उद्धृत गर्दै लेख्छन्— हिन्दु संस्कृतिमा भोगको बहिष्कार छैन । अर्थ र कामको तिरष्कार पनि छैन । तर, यो नै जीवनको लक्ष होइन । विचार विज्ञानमा खप्तडबाबा भन्छन्— जिज्ञासुले आफ्ना इन्द्रियहरूलाई वशमा राख्छ, विषयी इन्द्रियहरूका वशमा हुन्छ ।
जीवनको लक्ष्य के हो त ? धर्म र अध्यात्मका दृष्टिले मोक्ष हो भने संसारी मानिसका लागि आफूले चाहेको वा गरेको काममा उच्चतम सफलता नै उसको लक्ष्य हो । लक्ष्य हासिल गर्न ऊ बाँच्नुपर्छ अर्थात् उसले पूर्ण आयु पाउनुपर्छ । चरकसंहितालाई उद्धृत गर्दै लेखक भन्छन्— आयु भनेको शरीर, मन र आत्माको संयोग हो । शरीर यसका अंग–प्रत्यंगका साथै वातावरणीय क्रिया, प्रतिक्रिया र त्यसबाट उत्पन्न प्रभावसँग सम्बन्धित हुन्छ । मन र आत्माचाहिँ मानिसले पालन गर्ने सदाचार र अन्तःकरण अर्थात् चित्तशुद्धिसँग सम्बन्धित छ । यसका लागि भने पूर्वीय चिन्तनमा पाइने योग साधना, वेदान्त एवं अध्यात्म ज्ञानलाई पछ्याउनुपर्छ ।
शरीर मोक्ष प्राप्तिको साधन हो, ब्रह्मको निवास्थान पनि । ब्रह्म र मोक्ष प्राप्तिका कुरालाई कुनै धर्मसँग जोडेर हेर्नु आवश्यक छैन । ब्रह्म भनेको सरल अर्थमा कहिल्यै नमासिने अस्तित्व हो, जुनबिना जीवन र जगत् सम्भव छैन । मोक्ष जीवन जिउनुको सार्थकता हो, उपलब्धिको उच्चतम विन्दु हो । यो यथार्थ धार्मिक आस्था भएका वा धर्म नमान्ने दुवैका लागि बराबर बुझाइ हो । लेखक भन्छन्— ईश्वरमा आस्था राख्ने अध्यात्मवादी साधक होस् वा सांसारिक सुख भोगमा रमाउने भौतिकवादी विषयानन्दी दुवैले स्वस्थ, निरोगी, बलिष्ठ, चेतनशील र दीर्घायु शरीर चाहन्छन् । तसर्थ अध्यात्म र भौतिक चेतना एकआर्कामा प्रतिकूल कुरा होइन । गहिराइमा पुग्ने हो भने दुवैमा एकत्व पाइन्छ । यो एकत्व बोध गर्नसके र आफ्नो जीवनलाई थोरै भए पनि तदनुकूल अभ्यास र आचरणमा ढाल्न सके मानिस सुखी, शान्त र दीर्घजीवी हुन्छ ।
धर्मबारे हाम्रो बुझाइ गलत र आंशिक छ । अझ पढे–लेखेका वौद्धिक र राजनीतिमा लागेका मानिस यसबाट बढी ग्रस्त छन् । बुझ्नुपर्ने कुरा के हो भने, कर्मकाण्डका विधि र पालना नै धर्म होइन । यो मानिसको आचरण, व्यवहार र जीवन दर्शनसँग जोडिएको छ । सत्य, अहिंसा, ब्रह्मचर्य, दया, क्षमा, दान, परोपकार, स्वाध्याय, स्वच्छ चिन्तन, पवित्रता, सन्तोष, समभाव, सद्भाव मानिसले आफनो जीवनमा नित्य पालन गर्नुपर्ने कर्म हुन् । यसको पालना नै धर्म हो । यी कुरा एउटा असल जीवनका लागि अनिवार्य मान्यता पनि ह्न् ु। यसको पालना गर्दा मानिस कसरी पुरातन, अन्धविश्वासी र धर्मभीरु हुन्छ ? धर्म र पाप, स्वर्ग र नर्क देखाएर कर्मकाण्डको धन्दा र गलत आश्रमका नौटंकीले यसलाई विरूप बनाएका छन् । धर्मलाई निहित स्वार्थसिद्धिको माध्यम बनाउनेले यसको बद्नाम गरेका छन् ।
संसारी मानिस लक्षित काम, पेसा वा व्यवसायबाट उमेरका कारण स्वभावतः निवृत्त पनि हुन्छ । उच्च पदमा पुगेका मानिसमा पदान्तर वा अवकाशपछि जैविक वृद्धत्व चाँडै आउँछ । त्यसैले उनीहरू पद छाड्न चाहँदैनन् । छाड्नैपरे पनि उनीहरू अर्को पद र सुविधाका बढी लालची हुन्छन् । वास्तवमा राजनीतिलगायत सार्वजनिक सेवामा रहेकाले आफूले वाचा गरेका सिद्धान्त, नीति र आफ्ना यथार्थ कर्मबारे सके हरेक दिन, नसके कम्तीमा साता वा महिनामा एकपटक एकान्तमा आत्मसमीक्षा गर्नु जरुरी छ । संसारलाई जति ढाँटे पनि आफूलाई कसैले ढाँट्न सक्तैन । आफ्नो कामको सबैभन्दा ठूलो साक्षी आफैं हो । यो नै अध्यात्म चिन्तनको प्रवेशद्वार हो । पदबाट निवृत्त भएपछि आफ्ना कर्म र व्यवहारको समीक्षात्मक स्मरण लेख्न वा लेखाउन सके नयाँ पुस्ताका लागि गतिलो शिक्षाको स्रोत मिल्छ, इतिहासप्रति इमानदारी स्थापित हुन्छ ।

Page 23
कोसेली

एउटा कविताको सामर्थ्य

दिवंगत पाकिस्तानी कवि र चिन्तक फैज अहमद फैजद्वारा आजभन्दा ४१ वर्षपहिले रचित ‘हम देखेंगे’ नामक कविताले अहिले भारतीय उपमहाद्वीपभरि नै चर्चा–परिचर्चाको जुन उफान ल्याएको छ, त्यसलाई अभूतपूर्व मान्नुपर्छ ।
- हरि अधिकारी

आज भारतमा एक बेहतरिन उर्दू नज्म अथवा उर्दू भाषामा लेखिएको एक बहुतै सुन्दर कविताको चर्चा चुलिएको छ । कुनै एउटा नज्म अथवा कविता यसरी व्यापक चर्चामा आएको दृष्टान्त विरलै पाइन्छ । तर, यसपटक आधुनिक उर्दू कविताका सम्भवतः सबैभन्दा प्रभावशाली हस्ताक्षर, दिवंगत पाकिस्तानी कवि र चिन्तक फैज अहमद फैजद्वारा आजभन्दा ४१ वर्षपहिले रचित ‘हम देखेंगे’ नामक कविताले भारतीय उपमहाद्वीपभरि नै चर्चा–परिचर्चाको जुन उफान ल्याएको छ, त्यसलाई अभूतपूर्व मान्नुपर्छ । फैजको यो उत्कृष्ट नज्मलाई यस रूपमा चर्चित बनाउनेहरूले जानी–जानी हो वा अज्ञानताले हो, यसको जुन प्रकारको भाष्य गर्ने प्रयास गरेका छन् त्यो भने सरासर गलत देखिन्छ ।
मार्क्सवादी कवि फैज अहमद फैजले यो कविता सन् १९८० को दशकको एक विशेष कालखण्डमा इस्लामिक गणतन्त्र पाकिस्तानमा लादिएको सैनिक शासनको प्रतिरोध गर्नाका खातिर लेखेका थिए । सैनिक शासनले फैजका सबै प्रकारका रचनाहरूमाथि पूर्ण प्रतिबन्ध लगाएकाले यो कविता उनको जीवनकालमा पाकिस्तानमा त्यति धेरै पाठकसम्म पुग्न सकेको थिएन । अहिले, कवि फैजको देहान्त भएको झन्डै ३७ वर्षपछि उनको यो कविता पाकिस्तानसँग अनवरत रूपमा द्वन्द्वरत रहेको छिमेकी देश भारतमा सैनिक शासनको भन्दा अलि बेग्लै किसिमको अधिनायकवादी सत्तासँग संघर्ष गरिरहेका आम जनताका लागि एउटा ठूलो प्रेरणाको स्रोत बन्नुलाई एउटा सुखद आश्चर्यको विषय हो भन्न सकिन्छ ।
महान् साहित्यिक सिर्जनाहरू देश, राजनीति, भाषा र संस्कृतिका सीमारेखाहरूमा बाँधिएर रहँदैनन् भन्ने पुष्टि फैजका कालजयी रचनाहरूले बलियोसँग गरेका छन् । उनका प्रायः सबै रचना पाकिस्तानभन्दा उत्तर भारतको विशाल पाठक समुदायमा प्रिय छन् । त्यसैले, संसदीय बहुमतको बलमा अन्धधार्मिक, उग्रहिन्दुत्ववादी र मुस्लिमप्रति चरम् असहिष्णु शासन लाद्न खोजिरहेको भारतीय जनता पार्टीको सरकारले लागू गर्न खोजेको विभेदकारी नागरिकता ऐनको विरोधमा उत्रिएका भारतीय युवाहरूले ‘हम देखेंगे’ का अमर शब्दहरूमा आफ्नो हृदयको आवाज मिसाउन खोजेको हुनुपर्छ ।
नरेन्द्र मोदी सरकारले लागू गर्न खोजेको विवादास्पद नागरिकता संशोधन ऐन २०१९ को विरोधमा उत्रिएका भारतभरिका ५ दर्जनभन्दा बढी विश्वविद्यालयका छात्रहरूमध्ये इन्डियन इन्स्टिच्युट अफ् टेक्नोलजी (आईआईटी) कानपुर, यूपीका विद्यार्थीहरूले विरोध प्रदर्शनका क्रममा फैज अहमद फैजको त्यही ‘हम देखेंगे’ शीर्षकको गीति–कवितालाई आफ्नो मनको कुरा राख्ने माध्यम बनाएका छन् । उनीहरूले विरोध प्रदर्शनका क्रममा त्यस कविताको सस्वर पाठ गर्दै त्यसमा कविले व्यक्त गरेको फौजी अधिनायकवादको क्रूर पञ्जाबाट सर्वसाधारण पाकिस्तानी नागरिकको मुक्तिको कामनासँग आजको भारतका अल्पसंख्यक समुदायले भोग्नुपरिरहेको विभेदजन्य पीडालाई जोड्न खोजेका छन् ।
आईआईटी कानपुरसँग सम्बन्धित अधिकारीहरूले भने आन्दोलनकारी विद्यार्थीहरूले फैजको त्यस महान् कवितालाई आफ्नो मनको भावना मुखरित गर्ने माध्यम बनाउन खोजेको कुरालाई नकारात्मक रूपमा लिएका छन् । कुनै पनि उत्कृष्ट कविताको सीमातीत सौन्दर्य र सामर्थ्यबारे बिल्कुलै बेखबर ती रूढाग्रहीहरू त्यो कवितालाई हिन्दुविरोधी भएको आरोप लगाउँदै प्रदर्शनका क्रममा त्यसको पाठ गर्न र त्यसलाई उद्धृत गर्न प्रतिबन्ध लगाउनुपर्ने माग गरी स्थानीय प्रशासनमा उजुरी दिन पुगेका थिए । कुनै पनि मुसलमानको नाम जोडिनेबित्तिकै त्यसमा देशद्रोह देख्ने दृष्टिदोषग्रसित उत्तर प्रदेशको योगी आदित्यनाथ नेतृत्वको सरकारअन्तर्गतको कानपुर जिल्लाधिकारी कार्यालयले त्यस उजुरीमाथि तुरुन्तै सुनुवाइ गर्दै फैजको त्यस कालजयी कविताका बारेमा अध्ययन गरी प्रतिवेदन पेस गर्न ३ सदस्यीय कथित विज्ञ टोली गठन गरेको छ । अहिलेसम्म विज्ञ टोलीले प्रतिवेदन दिएको समाचार भने आएको छैन । आधुनिक उर्दू कविताका शीर्षस्थ हस्ताक्षर फैज अहमद फैज (सन् १९११–१९८४) को त्यो चर्चित कविताको एक टुक्रा यस्तो छ :

हम देखेंगे
लाजिम है कि हम भी देखेंगे
वह दिन जिसका वादा है
हम देखेंगे
जो लौह–ए–अजल में लिखा है
हम देखेंगे
लाजिम है कि हम भी देखेंगे ।

पाकिस्तान पिपल्स् पार्टीका नेता तथा लोकप्रिय प्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई षड्यन्त्र गरेर फाँसी दिलाई सत्ता हत्याएका जनरल जियाले आफ्नो स्थिति बलियो हुनेबित्तिकै फैज र इकबालहरूको मुलुक पाकिस्तानलाई फौजी निरंकुशता र इस्लामिक उग्रवाद मिलेर बन्ने क्रूर अधिनायकवादको अँध्यारो सुरुङभित्र हुलिदिएका थिए । त्यहाँ लोकतन्त्र, स्वतन्त्र प्रेस, अभिव्यक्तिको स्वतन्त्रता, मानवअधिकार र कवि–लेखक–कलाकारहरूलाई चाहिने सिर्जनात्मक परिवेशको नाम–निशान नै मेटिदिइएको थियो ।
समाजवादी नेता र प्रधानमन्त्री जुल्फिकार भुट्टोका निकट मित्र रहेका कम्युनिस्ट कवि फैजमाथि जर्नेल जियाको फौजी सत्ताको वक्रदृष्टि पर्नु स्वाभाविक नै थियो । देशभित्र उनका रचनाहरू छापिने वा पढिने सम्भावना बिल्कुलै थिएन । त्यसैले कालान्तरमा मानवीय मुक्तिको शाश्वत मन्त्रजस्तै बन्न पुगेको ‘हम देखेंगे’ पनि यसको रचना भएको केही वर्षसम्म पाकिस्तानी पाठकहरूसम्म पुग्नै पाएको थिएन भन्दा पनि हुन्छ । लगातारको मानसिक उत्पीडनबाट दिक्क भएर लेबनानमा निर्वासित जीवन बिताइरहेका कवि फैज जीवनको अन्तिम समयतिर स्वदेश फर्केर लाहौरमा बस्न थालेका थिए । सन् १९८४ को नोभेम्बर महिनामा उनको त्यसै सहरमा निधन भएको थियो ।
अहिले चर्चाको शिखरमा रहेको यो महान् कविताको पहिलो तर अत्यन्तै प्रभावशाली सार्वजनिक प्रस्तुति भने कविको मृत्यु भएको करिब १५ महिनापछि, सन् १९८६ को फेब्रुअरी महिनामा भएको थियो । लाहौरको अल हम्जा रंगशालामा कवि फैज अहमद फैजको जन्मजयन्ती मनाउन आयोजित एक कार्यक्रममा सुविख्यात पाकिस्तानी गजल गायिका इकबाल बानोले सैनिक तानाशाह जिया–उल–हकले फैजका कविताहरूमाथि लगाएको प्रतिबन्धलाई दृढतापूर्वक तोड्दै सुफियाना शैलीमा लेखिएको यो क्रान्तिकारी गीति–कविता गाएकी थिइन् । त्यस दिन इकबाल बानोले फैजको कवितामाथि लगाइएको प्रतिबन्ध मात्र होइन, जर्नेल जियाले पाकिस्तानी महिलाहरूले कालो साडी लगाउन नपाउने भनी जारी गरेको फतवाको पनि दृढ अवज्ञा गरिदिएकी थिइन् । गायिका बानो त्यस दिन अल हम्जा रंगशालामा कालो साडीमा सजिएर पुगेकी थिइन् ।
त्यस दिन अल हम्जा रंगशालामा उपस्थित करिब ५० हजार पाकिस्तानी जनताका लागि इकबाल बानोले कन्सर्टमा आउँदा लगाएको कालो साडी र उनले गाएको फैजको ‘हम देखेंगे’ शीर्षकको नज्म एक अलौकिक आनन्दको अनुभूति बनेको थियो । सैनिक प्रशासनका प्रहरी र गुमास्ताहरूको त होस नै उडेको थियो त्यतिबेला । मोहतरमा इकबाल बानो सुफी गायकको तन्मयताका साथ ‘सब ताज उछाले जाएंगे’, ‘सब तख्त गिराए जाएंगे’ गाइरहेकी थिइन् उता रंगशालामा जम्मा भएको सम्पूर्ण श्रोतावृन्द भने लगातार इन्कलाब जिन्दावादको तुमुल आवाज निकालिरहेको थियो । विष्मित र चकित सरकारी गुमास्ताहरूले केही समयपछि रंगशालाको बिजुली काटिदिएर त्यो अद्भुत कार्यक्रममाथि जसोतसो व्यवधान त पुर्‍याएका थिए तर त्यतिबेलासम्म उनीहरूको हकमा ढिलो भइसकेको थियो । रंगशालामा बत्ती निभाउनुभन्दा पहिले नै इकबाल बानोले गाएको फैजको नज्म रेकर्ड गरिसकिएको थियो र त्यसको केही दिनपछि नै त्यस रेकर्डका कैयौं प्रतिहरू गोप्य रूपमा हिन्दुस्तान, बंगलादेश र नेपालका राजधानी सहरहरूमा पुर्‍याइसकिएका थिए ।
महान् उर्दू कवि फैज अहमद फैजको जन्म ब्रिटिस भारतको पन्जाब प्रान्तको नरोवाल जिल्लाको एउटा सम्पन्न पन्जाबी जाट परिवारमा सन् १९११ को फेब्रुअरी १३ का दिन भएको थियो । सन्तानको शिक्षा–दीक्षाप्रति जागरुक परिवारमा जन्मेका उनले प्राथमिक तहदेखि नै मुलुकका उत्कृष्ट शैक्षिक प्रतिष्ठानहरूमा पढ्ने अवसर पाएका थिए । अरेबिक र अंग्रेजी साहित्यमा डबल एमए गरेका उनी पाकिस्तानका श्रेष्ठतम् प्राज्ञिक व्यक्तित्वहरूमध्ये एक मानिन्थे ।
कलेजमा पढ्दा ताका नै मार्क्सवादी विचारधारासँग जोडिएका फैज आजीवन पाकिस्तान कम्युनिस्ट पार्टीका प्रखरतम् बौद्धिक अनुहार रहे । तर मूल रूपमा उनी एक क्रान्तिकारी कवि थिए । प्रोफेसर, दैनिक पत्रिकाको सम्पादक, सरकारी अधिकारी, प्रधानमन्त्रीका सहयोगी, जुनसुकै हैसियतमा काम गर्दा पनि उनले आम जनताको मुक्तिको परिकल्पनालाई नै आफ्नो चिन्ता र चिन्तनको आधार बनाएका थिए । आफ्नो सैद्धान्तिक र नैतिक अडानका कारण फैजले आफ्नो जीवनको लामो समय निर्वासनमा बिताउनुपरेको थियो ।
फैजका नक्श–ए–फरियादी, दस्त–ए–सबह र जिन्दाँ–नामा शीर्षकका ३ कवितासंग्रहसहित १ दर्जन कृति प्रकाशित छन् । उनलाई सन् १९६२ मा तत्कालीन सोभियत संघको सर्वोच्च नागरिक पुरस्कार लेनिन पिस प्राइज र पाकिस्तानको सर्वोच्च नागरिक सम्मान निशान–ए–इम्तियाज (मरणोपरान्त १९९०) बाट पुरस्कृत गरिएको थियो । भनिन्छ, सन् १९८४ मा उनको निधन नभएको भए त्यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार उनलाई दिइने कुरा लगभग तय भएको थियो ।

उर्दू कविता ‘हम देखेंगे’ को भावानुवाद

हामी हेर्नेर्छौं
जरुरी छ त्यसैले हामी पनि हेर्नेर्छौं
सृष्टिको प्रारम्भमै तय गरिएको त्यो अवश्यम्भावी दिन
जसका बारेमा दिइएको थियो हामीलाई वचन
त्यसलाई हामी हेर्नेर्छौं ।

जब अन्याय र अत्याचारको यो पहाड
सिमलको भुवाझैं उडेर बेपत्ता हुनेछ
हामी दबाइएका प्रजाहरूको पैतालामुनिको जमिन
ढङढङ ढङढङ गरी हल्लिन थाल्नेछ
जब यी शासकहरूको शिरमाथि
हुनेछ चट्याङको भीषण आघात,
हामी हेर्नेछौँं
जरुरी छ त्यसैले हामी पनि हेर्नेछौँ
हामी हेर्नेछौँ ।

जब भगवान्को पवित्र आश्रमबाट
यी सबै मूर्तिहरूलाई हटाइनेछ
तब हामी दीनहीन अकिञ्चन सर्वहाराहरूलाई
दरबारको उच्चासनमा राखिनेछ
त्यतिबेला झिकिनेछन् धेरैका शिरबाट श्रीपेच
भत्काइनेछन् बलिया ठानिएका सिंहासनहरू अनेक
अनि हामी हेर्नेछौँ
जरुरी छ त्यसैले हामी पनि हेर्नेछौँ
हामी हेर्नेछौँ ।

त्यतिबेला बाँकी रहनेछ केबल ईश्वरको नाम
त्यो ईश्वर जो हराएको छ र उपस्थित पनि छ
जो दृश्यमान् छ र छ अदृश्य पनि
त्यतिबेला उठ्नेछ नारा अहम् ब्रह्मास्मिको
त्यो अहम् म हुनेछु र तिमी पनि हुनेछौ
त्यतिबेला गर्नेछन् शासन ईश्वरका सन्तानहरूले
ती शासकमध्ये एउटा हुनेछु म र अर्को हुनेछौ तिमी ।

हामी हेर्नेछौँ
जरुरी छ त्यसैले हामी पनि हेर्नेछौँ
हामी हेर्नेछौँ ।
(फैजले ‘हम देखेंगे’ कविता सन् १९७९ मा जर्नेल जिया–उल–हकको फौजी तानाशाहीको विरोधमा लेखेका थिए ।)

कोसेली

दुई दशक, दुई घटना

- कुमारी लामा

एक झल्को
नमीठो साँझ भर्खरै बेहोरिसक्दा विगतको एउटा घटना तिखो बिझेको छ । हुन्छ नि घाउको पाप्रा कोट्याउँदाको कडा दुःखाइ । त्यस्तै । महिलाका त कति नि ! छोपिई बसेका ती चस्काहरू । बाटो, चोक गल्ली या मध्यबजार, जहीँतहीँ छन् त्यस्ता सुदूर समयका घाउहरू । देशमा प्रजातन्त्र उदाएसँगै हाम्रो परिवार धादिङबाट काठमाडौं सरेको थियो । गाउँ छाड्नुका विविध कारणहरू थिएछन्, उतिखेर म अजानकार थिएँ । ठूलो सहरका धेरै ठाउँमा नौला दुःख, हन्डर खाएपछि भने हामी डेरा सराइसँगै पुगेका थियौँ चाबेल शान्तिगोरेटो । त्यसबेला म एघार वर्षकी थिएँ ।
आफ्नो थातथलो, खेतीपाती छाडी हिँडेपछिको कठिनाइ हाम्रो परिवारले भोग्दो थियो । आमा एउटा कारखानामा काममा लाग्नुभएको थियो । त्यस दिन म आमाले काम गर्ने ठाउँबाट डेरातिर लम्किँदै थिएँ । बेफिक्री थियो चाल । तब अकस्मात् कसैको हात मेरो छातीतिर आइपुग्यो । त्यस हातले फत्ते गरेको कामसँगै उक्लेको दुःखाइको पारो र त्रासद
झड्कामाझ म चाबेल चोकमा चिसो भई जमेँ । यति अचानक त्यस घटना भयो कि सायद म अलमलमा परेँ । या सायद डराएँ र पर्खालझैँ ठडिएँ केही क्षण । यी सब यति अप्रत्याशित र आकस्मिक भयो मैले को, के केही चाल पाइनँ । मात्र त्यो अनुहार एक झल्को आँखामा पर्‍यो । यति नजिकबाट कि मैले त्यसको नापनक्सा कैद गर्नै सकिनँ । ठम्याइ यति मात्र भयो कि त्यो पुरुष अनुहार हो । त्यसैबखत डर र अलमलबीच लाचारीपूर्वक फुस्फुसाएको भने सम्झना छ, ‘आमालाई भन्दिन्छु ।’
डर र अप्ठेरो बोकेर रन्थनिँदै डेरा पुगेँ । साँझ कामबाट फर्किनुभएकी आमालाई दिउँसोको घटना सुनाउन भने सकिनँ । थाहा छैन किन । ममा यति अवसाद भनौँ या त्रास या नमीठोपन फैलिएको थियो कि म बिस्तारै अर्कै हुँदै गएँ । सायद त्यही घटनापछि नै हो मेरो हिँडाइ बद्लिएको ।
म काँध झारी कुप्रिएर हिँड्न थालेको थिए । मानौँ कि म जोगाउन चाहन्थेँ आफूलाई ती हातहरूबाट । निकैपछि बाबाले याद गर्नुभएछ, मेरो नुहेको काँध । ‘किन बाङ्गिएकी,
सीधा हिँड्’ भन्नुहुँदा म झसंग भएँ । मेरो हिँहाइ त अस्वाभाविक देखिन थालिसकेछ । छाति फुलाएर लम्किने निडर चाल त खुम्चिएर कता हो कता बेपत्ता भैसकेछ । पहिलेजस्तै टाउको उठाएर सीधा हिँड्न मैले निकै समय प्रयास गर्नुपर्‍यो । सम्भवतः त्यही घटना थियो ममाथि पितृसत्ताको पहिलो अंकुश, जसले मेरो बेपर्वाह हिँडाइमा बन्देज लगाइदियो । यसरी नै विकृत मानसिकता बोकेकाहरूका हात, मस्तिष्क हुँदै मिचिँदै जान्छ स्वतन्त्रता छोरीहरूको । साथमा सामाजिक मूल्य मन्यताहरूको डसाइ । कसरी टाउको उचो पारी स्वतन्त्र हिँड्न सक्नु त छोरीहरूले ?
विगत बल्झाउने अर्को घटना भयो हालै । फरक तर फेरि उस्तै पनि । म कसैलाई कुर्दै थिएँ जडीबुटी चोकमा । समय साँझको करिब ६ बजे । पुसको फासफुसे दिन, त्यसैले अलिक अँध्यारिँदो समय । लगभग दस मिनेटको कुराइमा केहीपटक तलमाथि हिडेँ । गाडी कुर्नेहरूको हूलमुल, हल्ला र धूलोमाझ एक मोटरबाइकवाला रोकिए र कसैलाई कुरेझैं गरे । त्यस मास्क र हेल्मेटधारीले मेरो यताउति हिँडाइ केही बेर नियाल्यो । ट्राफिकले चोकमा गाडी रोक्दाको सुनसान क्षण उसको बोली फुट्यो, ‘कता जाने हो ?’ मैले वास्ता गरिनँ । अलिक माथि पुगेर फर्किंदा उसले त्यही प्रश्न दोहोर्‍यायो । सामान्य सोधाइ फरक हुन्छ । सहजै बुझिन्छ । तर, उसको सोधाइ भिन्न थियो । फरक इन्टेन्सनसहितको । रिसको पारो उक्लिसकेको थियो मेरो । म अडिएँ र प्रतिप्रश्न गरें, ‘किन ? किन चाहियो ?’ उसले अर्कै पारामा केही कुरा भनेपछि भने मैले सहन सकिनँ र लामै जवाफ फर्कार्एँ । त्यसपछि त्यो बाइकवाला बेपत्ताले हुइँकियो । तर, दौडिनुअघि बोली गयो एउटा नमीठो शब्द मेरा लागि । के बोल्यो होला, आफैं बिचार्नुस् । म फेरि पहिलेजस्तै अवाक र स्तब्ध भएँ । एकपटक फेरि विगत बल्झियो फरक पारामा ।

समाज
यी घटना सामान्य हुन् त ?
मथिंगल हानेको हान्यै छ । प्रश्नहरू ओइरिएको छ आफैंभित्र । यी घटना सम्झँदै जाँदा सोच्दै छु, हाम्रो समय र समाजबारे । साढे दुई दशकभन्दा बढीको अन्तरालमा घटेका यी दुई घटनाले हाम्रो समाजमा व्याप्त मानसिकता प्रस्ट पार्छ । एउटी छोरी मान्छे किशोरावस्थाको होस् या प्रौढ, जहिल्यै यस्ता हिंसाका घटनामा परिरहेका छन् । हिंसा बन्द कोठामा मात्र होइन, खुला स्थानमा यसरी भइरहेको छ । हामी भने लोकतान्त्रिक संघीय देशका वैश्विक नागरिक भएको दम्भ ओकलिरहेका छौँ । परिवर्तन हुन नसकेको पितृसत्तात्मक मानसिकताको प्रहार सहनुपर्दा लाग्छ, नेपाली समाजको पात्रो र घडी जमिबसेको छ एकै ठाउँ ।
खै कहाँनिर परिवर्तन आयो त पितृसत्तात्मक समाज, सोच, दम्भ या कर्तुतमा ?
जब कि आज पनि एउटी महिला सम्साँझ एक्लै हिँड्दा
या मानिसको हूलमाझ पनि गाली गलौज र दुर्व्यवहारका सिकार हुन्छन् ।
यी घटना साक्षी हुन् हाम्रो समाजमा विद्यमान निरंकुश पितृसत्तात्मक प्रवृत्तिको । यस सोचले ग्रस्त पुरुषले महिलाको अस्तित्व स्विकार्दैन । महिलालाई मान्छेभन्दा तल एक वस्तु ठान्छ । अथवा मान्छे नै माने पनि प्रयोग गर्न सकिने, भोग्न सकिने या जे भन्दा गर्दा पनि हुने मानी व्यवहार गर्छ । जुन कुरा मैले बेहोरेको दुवै घटनाले प्रस्ट्याएको छ । पछिल्लो घटनामा सामेल हेल्मेटधारीले एउटी महिला साँझ सडकमा बेपर्वाह हिँडिरहनुलाई अन्यथा नै लियो र छोपिहाल्यो मौका । उसको त्यो सोचपछाडिका कारक तत्त्व धेरै होलान् । तीमध्ये पहिलो कारण हुन सक्छ, चिम्से आँखासहितको गोलो अनुहारप्रति समाजमा व्याप्त दृष्टिकोण । दोस्रो, समाजले महिलामाथि लादेको आउटडेटेड केही मूल्यमान्यताहरूको धङधङी । कैलाश राईले वकालत गरिरहेजस्तै अनेकन गलत बुझाइ छन्, जनजाति महिलाबारे हाम्रो समाजमा । जनजाति महिलाहरू स्वतन्त्र हुन्छन्, त्यसैले उनीहरूसँग जे बोल्न र भन्न पनि छुट छ भन्ने मानसिकता देखिन्छ मानिसको । यसो हुनुपछाडि उनीहरूको शरीरलाई शक्तिकेन्द्र, सत्ताधारीले गरेको दोहनको इतिहास जोडिएको छ । त्यसैको रहलपहल हो, उनीहरूप्रतिको व्याप्त आमधारणा । सम्भवतः यही मानसिकताग्रस्त त्यस पुरुषले रातमा एक्लै हिँडिरहेकी जनजाति अनुहारकी महिलालाई केही भन्दा फरक पर्दैन भन्ने सोच्यो होला । अथवा पितृसत्तात्मक दम्भले फुलेको एक बिमार मानसिकताले उम्लिएको पुरुषको अभिव्यक्ति पनि हुन सक्छ, उसको बोली व्यवहार । तर, समग्रमा यस्ता घटना सबै जातिका महिलाले चोक–दोबाटोमा झेलिरहेकै छन् ।
त्यो पुरुषको रवैयासँग सामाजिक मान्यताका केही पाटा पक्का जोडिएको छ । हाम्रो समाजिक मूल्यमान्यताले रातविरात महिलाको हिँडाइ स्विकार्दैन । साँझ नढल्दै घरभित्र छिर्नुपर्ने बन्देज अझै छ । त्यसमाथि थपिदिएको छ असल महिलाका गुणहरूको लामो लिस्ट । महानगरमा साँझ–बिहान कामकाजी महिला हिँड्छन् तर त्यसमा पनि कुन नापनक्साका अनुहार हिँड्दै छन्ले पनि खास भूमिका खेल्न सक्छ । महिलाको मौनतालाई सेलिब्रेट गर्ने हाम्रो समाजले असल महिलाको गुणमा ‘सहनु’ लाई निकै महत्त्वका साथ हेर्छ । बोली फर्काउने, प्रतिप्रश्न गर्ने, सहन नसक्ने त असल महिला होइन भनी ठोकिदिन्छ लाहाछाप । घरघरमा छ महिला बन्देजको सूची । बोल्यो कि खराब आइमाई । चुपचाप बसे आनन्द । मैले कडा रूपमा कुरा राख्दा घरमै ‘महिलावादी’ भएको नकारात्मक प्रतिक्रिया पाएकी छु । ज्योति जंगलले उप्काएको महिलावादी हुनुको या भनिनुको पीडा अधिकांश बोल्ने, प्रश्न गर्ने महिलाले झेल्ने गरेका छन् । गम्भीर प्रश्न जन्माएको छ समाजको यसखाले प्रवृत्तिले । खासमा समाज या भनौँ पितृसत्तात्मक मनोवृत्ति अटेसमटेस बोकी हिँडेकालाई सधैँ महिलाको प्रश्नले नमीठो गरी बिझाउँछ । जसरी त्यस पुरुषलाई घोच्यो र मलाई नमीठो गाली गरी भाग्यो । महिलाको आवज र प्रश्नसित त्रस्त देखिन्छन् उनीहरू । खाईपाई आएको मनमौजी समय हातबाट चिप्लिने डर बढेजस्तो लाग्छ । पितृसत्तात्मक मानसिकता बोकेकाहरूको मनोविज्ञान भयानक छ । उनीहरू महिला केवल मूर्ति भई बसिदियोस् चाहन्छन् । पटक्क मन पराउँदैनन् उनीहरूको चहलपहल, आवाज, प्रश्न या प्रतिप्रश्न । झम्के साँझमा निस्फिक्री हिँड्नु अनि मै हुँ भन्ने पुरुषलाई जवाफ फर्काउनु सह्य हुने कुरै भएन पितृसत्तात्मक सोच अठ्याई बस्नेहरूलाई । त्यो पुरुषले कल्पना गरेको हुँदो हो, उसको सोधाइको जवाफमा एक असहज हेराइ या एक लहर मुस्कान या मौनता । तर, त्यस्तो केही भएन । उसले प्रतिप्रश्न फेला पार्‍यो । उसलाई धक्का लाग्यो । मनमा हलचल भयो सायद । भाग्नुको विकल्प देखेन र भाग्यो । तर, जाँदाजाँदै ओकली गयो, आफूभित्रको जब्बर पितृसत्तात्मक प्रवृत्ति ।

नफेरिएको सोच
समय फेरिएजस्तो देखिए पनि फेरिएको छैन निरंकुश पितृसत्तात्मक सोच । यो जब्बरे सोच र प्रवृत्तिमा बद्लाव आएको भए महिलामाथिका हिंसाका घटना कम हुनुपर्ने हो । तर, उक्लेको उक्ल्यै छ हिंसाको ग्राफ । नाबालिकादेखि वृद्धासम्म कोही सुरक्षित छैनन् । विद्यालय, कार्यालय, सडक या घर कतै सुरक्षा छैन । महिलाका पीडादायी भोगाइ दोहोरिइरहेका छन् । मेरो विगत भोगाइ आज कलिला नानीहरूले बेहोर्दै छन् । महिला शरीरमाथिको दोहन र अस्तित्वहीनताको कथा लामो छ । इतिहास साक्षी छ, कसरी महिलाको अस्तित्व पुरुष अथवा लोग्नेको अस्तित्वसँग जोडिएको थियो । उही अवस्था आज पनि निरन्तर छ । लोग्ने छैनन् त उनीहरूको अस्तित्व छैन । सती जलाइनु उनीहरूको अस्तित्वहीनताको एक जिउँदो उदाहरण थियो । छाडियो पोल्न सती तर अझ पोलिँदै छन् विभिन्न खाले पोलाइ । छाउगोठभित्र निस्सासिँदै सास छोड्नुको पोलाइ, छोरा जन्माउन नसक्दा आधा दर्जनभन्दा बढी छोरी भ्रूण हत्यासँगैको मन र ज्यानको जलन, रिहानाहरूको दाइजो जलाइ या पूजाहरूको हाडनाता करणी जलाइ । निर्मला पन्तको जलाइको त सीमा छैन । मृत्युपश्चात् पनि न्यायका लागि गुन्जिरहेको छ उनको आवाज । लामो छ जलाई शृंखला । र, साथमा थपिएको छ सडकदेखि घरका सुरक्षितझैँ लाग्ने कोठा चोटाहरूमा दिनदिनै बाक्लिँदै गइरहेको महिलामाथिको हिंसा ।
महिलामाथि भइरहेका बग्रेल्ती हिंसाका घटनामाझ अग्रगामी सोच र परिवर्तनको ढोल पिट्न मस्त समाज कतै घिस्रिरहेको त छैन सतीयुगतिर ?

Page 24
कोसेली

जुत्ताको मानवशास्त्र

- डम्बर चेम्जोङ

मानिसले खासगरी चिसो ठिही, ढुंग्यान, पत्थरिलो गेग््य्रान, काँडे झाडीमा हिँड्दा खुट्टाको वचावटका लागि जुत्ता नामको पहिरन अनेक रूपमा क्रमशः निर्माण गर्‍य‌ो । आफूलाई शारीरिक कठिनाइबाट बचाउन र खुट्टालाई सुरक्षित राख्न रूखको बोक्रो, जनावरको छाला, रौँ, घाँसपातजस्ता वस्तुहरूबाट जुत्ता बनाई यसको प्रयोग भएझैं लाग्छ । सायद आदिम साम्यवादी समाजमा माथि उल्लिखित अर्थमा मात्र जुत्ताको उपयोग हुन्थ्यो । तर, जसै मानव समाज राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, लैंगिक, धार्मिक अनेक हिसाबले असमान बन्दै गयो जुत्ताको स्वरूप, डिजाइन, आकार पनि अनेकानेक हुन थाल्यो । जुत्ताले व्यक्तिको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, लैंगिक विविधता र हैसियत प्रतिनिधित्व गर्न थाल्यो । मानव समाजमा उत्पादनको प्रणाली र उत्पादनको सम्बन्धहरूको परिवर्तन र रूपान्तरणसँगै जुत्ता क्रमशः बहु–प्रतीकात्मक, विम्ब–बहुलतायुक्त र विशिष्ट सौन्दर्यबोधक वस्तुको रूपमा विकसित हुँदै आएको भान हुन्छ । आजको पुँजीवादी बजारकेन्द्रित युगमा जुत्ताको अर्थमहत्ता अन्य कुराभन्दा पनि सौन्दर्यात्मकता र वस्तु–पूजनीयतावादसंँग छ ।
विशिष्ट परिस्थितिअनुसार, ‘जुत्ता’ शब्द प्रयोग भएका अनेकार्थी वाक्यहरू हुन्छन् । कहिले सामाजिक रूपमा अत्यन्त सकारात्मक अर्थमा ‘जुत्ता’ को प्रयोग हुन्छ, कहिले अत्यन्त नकारात्मक अर्थमा । झगडा पर्दा रिस खप्न नसकी ‘तँलाई जुत्ताले हान्छु’ भनेको सुनिन्छ, हानेको पनि देखिएकै हो । नेपालकै संसद्भित्र समेत जुत्ता हानियो । यूएसएका पूर्वराष्ट्रपति जर्ज बुसलाई इराक भ्रमणको अवसरमा प्रेस मिट गरिरहेकै बेला एक जना पत्रकारले जुत्ताले हाने । पहिलो जुत्ताले हाने, चुस्त र फुर्तीका जर्ज बुसले छले, फेरि दोस्रो जुत्ता उडेर आयो— बुसको टाउकै ताकेर, फेरि छले । राजनीतिक विचार र व्यवहारमा असहमत भएपछि यसरी जुत्ताको प्रयोग गरिँदोरहेछ ।
कहिले मायालुलाई फकाउन ‘चुईं चुईं चुइँकिने जुत्ता, मै किनिदिउँला’ गाइन्छ, कहिले भने लवाइ–खुवाइको रवाफ देखाउन ‘मेरा जुता है जापानी’ गाइन्छ । खुट्टाको सुरक्षाका लागि किन्नुपर्ने जुत्ताकै सुरक्षा गर्नुपर्ने चलन पनि देखिन्थ्यो पहिले गाउँघरतिर । कतिसम्म भने जुत्ता किन्न र लगाउन सक्ने भन्ने प्रभाव पार्नु, देखाउनु पनि छ, फेरि–फेरि किनिरहन सक्ने हैसियत पनि छैन । कतै पाहुना जाँदा जुत्ता हातमा बोकेर घण्टौँ अर्थात् एक–दुई दिनसमेत खाली खुट्टा हिँड्ने अनि गन्तव्यमा पुग्ने बेला लगाउने चलन हाम्रा बाल्यकालमा गाउँ–घरतिर देखिएकै हो । कसैको भने बानी नहुनाले जुत्ताले खुट्टा च्यापेर उखरमाउलो दुख्नाले पनि सहन नसकी गन्तव्यमा पुग्ने बेला मात्र लगाउने बाध्यता पनि हुन सक्छ । हामी आफैँ पनि खुट्टामा लाओस् भनेर किनिदिएको चप्पल वर्षायाम हिलो–मैलोको बेला हातमै लगाएर हिँड्थ्यौं । यसर्थ जुत्ता शब्द र वस्तुले अभिधा, लक्षणा, व्यञ्जना तहमा अनेक अर्थ सुझाउँछन् ।
इतिहासको कुरा गरौँ । इतिहासको लेखोटमै पढ्न पाइन्छ– मकवानपुर ससुराली दरबारका सिपाहीले ‘जुत्ता नफुकाली सलाम ठोक्यो’ भन्ने निहुँमा पृथ्वीनारायण शाहले उक्त सिपाहीलाई तत्काल मार्न लगाए रे ! मननीय छ, सिपाहीले बुट फुकालेर सलाम ठोके कस्तो देखिएला, सुनिएला ! सिपाहीको परेड, सलामीको रौनक र तुजुक त लय, ताल मिलाएर बुट बजार्नुमा सुनिन्छ, देखिन्छ ! जुत्ता लाएरै सलाम ठोक्ने हो, जुत्ता फुकालेर चाहिँ ढोग्ने हो । ढोग्नु र सलाम ठोक्नु नितान्त फरक सन्दर्भहरू हुन् । पृथ्वीनारायण शाहकालीन समाजमा सैन्य संगठन र व्यवस्था थियोझैँ लाग्दैन, भए पनि सुरु र सिकारु अवस्थामै हुन सक्छ । त्यसैले त्यस बेला सिपाहीले सलाम ठोक्ने भन्ने सिकिसकेका थिएनन् कि ! सायद त्यस बेला दर्शन गर्ने, ढोग्ने चलन मात्र हुन सक्छ र ती अभागी सिपाहीले जुत्ता नफुकाली ढोग्नुको बदलामा ज्यान गुमाएको हुन सक्छ ।
सामान्यतया घरभित्र प्रवेश गर्दा ढोकाको संघारनेरै जुत्ता फुकाल्ने चलन नेपाली समाजमा छ । जुत्ताले ल्याएको बाहिरको धूलो, हिलो, मैलो घरबाहिरै बसोस् भन्ने होला । घरको कुरा त घरै हो तर नेपालको कतिपय सरकारी कार्यालयहरूमा, विशेषतः कार्यालय प्रमुखको कार्यकक्षमा जुत्ता बाहिरै खोलेर मात्र प्रवेश गर्नुपर्ने चलन छ । सुनेको हो, यकिन छैन ः ‘अबदेखि कार्यालय प्रवेश गर्दा जुत्ता बाहिरै खोलेर पस्ने चलन बन्द गर्नू’ भन्ने परिपत्र पनि केही वर्षअगाडि आएको थियो रे ! २०४६–४७ सालतिरदेखि नेपालमा योजना तथा विकास कार्यक्रमहसँग सम्बन्धित कार्यालयहरूमा बिस्तारै डेस्कटप कम्प्युटरहरू एका–दुई दिन थालियो । कम्प्युटर–कोठा विशेष सफा राख्ने गरिन्थ्यो र त्यस कोठामा प्रवेश गर्दा जुत्ता खोल्नैपर्थ्यो । जुत्ता लगाएरै छेउ जाँदा कम्प्युटरमा भाइरस लाग्छ भन्थे । जुत्तासँग आउने धूलो–मैलोको कारण कम्प्युटरमा भाइरस लाग्छ भन्ने बुझाइ रहेछ त्यस बेला (३० वर्षअघि) का विज्ञहरूको ।
नेपालमा अध्ययन–अध्यापन, अनुसन्धान र ज्ञान उत्पादन तथा वितरण गर्ने केन्द्र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस तथा केन्द्रीय कार्यालयहरूको कुरा गरौं । शिक्षाध्यक्षको कार्यालयलगायत त्यसै भवनभित्र अवस्थित शिक्षाध्यक्ष मातहतका कार्यालयमा जुत्ता ढोकाबाहिरै खोलेर प्रवेश गर्ने चलन राखिएको छ । पूर्वशिक्षाध्यक्ष सुधा त्रिपाठीज्यूको दर्शन गर्न जानुपर्दा बाहिर ढोकैमा अनुमान हुने– भेट्न कति समय लाग्ला भन्ने । कहिले त गाउँ–घर वा पातलो बस्तीको देवीमन्दिर बाहिरभन्दा धेरै जुत्ताका थाक हुन्थे शिक्षाध्यक्ष कार्यालयको ढोकाबाहिर । र, जस्तै जरुरी काम परे पनि फनक्क फर्कनुपर्ने । जुत्ता खोल्नुको झन्झट कति छन् कति ! सामान्य स्पोर्ट्स जुत्ताहरू लगाएर जाँदा ठीकै हो, एउटा खुट्टको कुर्कुच्चापट्टिले अर्को खुट्टाको कुर्कुच्चा धकेलेर जुत्ता ख्वास्स खोल्यो पस्यो ! तस्मा कस्ने छालाको चेल्सी बुट लगाएको छ भने सकस परिहाल्छ, अझ छालाको तस्मावाला हाइटप जुत्ता हो भने त फसादै पर्छ खोल्नलाई । आफ्नै खुट्टा ढोगेजसरी निहुरेर तस्मा फुकाल्दै जुत्ता खोल्नुको हैरानी कस्तो हुन्छ, सबैलाई थाहा भएकै कुरा हो । अझ मोटाएर भुँडी उछिट्टिएको ज्यान होस् र तस्मा फुकालेर खोल्ने जुत्ता लगाएको होस्, उसैलाई थाहा होला उठीउठी जुत्ता लगाउनु र खोल्नु कस्तो सकस हुन्छ भन्ने !
जुत्ता खोलेर मात्र ठूला हाकिम भेट्न पाउनुको मानवशास्त्रीय विश्लेषण कसरी गर्ने होला ! सामन्ती चिन्तन र चरित्रमा जुत्ता लगाएरै सलाम ठोक्ने हो र जुत्ता फुकाएर दर्शन गर्ने वा ढोग्ने हो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयहरूमा जुत्ता खोलेर हाकिम भेट्ने चलन चलाउनुलाई सामान्य धूलो, मैलो, हिलोसँग सम्बन्ध राखेर हेरेर मात्र पुग्दैन । बरु सामन्तवादी बडप्पन भाव हाबी हुनाको कारणले जुत्ता खोलेर दर्शन गराउने भन्ने विचार हुन सक्छ ता कि आफ्नो कार्यकक्षमा प्रवेश गर्नुअघि जुत्ता खोल्नासाथ भेट्न आउनेले आफ्नो हैसियतको एक अंश भए पनि गुमाओस् र भेटमा डटेर कुरा गर्न नसकोस् भन्ने मनोभावनाले काम गरेको पनि हुन सक्छ ।
गएको मध्यवर्षायाममा ठूलो झरी–वर्षा र हिलाम्य कम्पाउन्डबीचमा निर्मित त्रिवि उपकुलपतिको कार्यालय कुलपतिज्यूबाट उद्घाटन भयो । उपकुलपतिको कार्यालय भवनवरिपरि जुत्ता वा बुटजुत्ता त, के गमबुट नै गाडिनेसम्मको हिलोमय थियो उद्घाटन–अवसर । त्यस अवसरमा कुलपतिज्यूका सम्मानमा हिलोमा बिछ्याइएको ‘रेड कार्पेट’ बारे धेरै नै छापाबाजी भएको थियो । नजाने कुन लोभ, मोह वा समस्याले हो— उपकुलपति–कार्यालयको आँगन कम्पाउन्ड आज पनि त्यही अवस्थामा छ । ठुस्केको मुखमा कुराउनी भनेको यही त हो ! जे भए पनि बाहिर कम्पाउन्डलाई व्यवस्थित नगरी हिलाम्य–धूलाम्य राखेपछि कम्तीमा आगन्तुकलाई अफिसभित्र प्रवेश गर्दा जुत्ता फुकाल्न बाध्य पार्ने बहाना त मिलेकै छ ।
कार्यकक्ष वा कार्यथलोमा जुत्ता लगाएरै प्रवेश गर्नु वा काम गर्नु भन्ने कुरा कतिपय अर्थमा आत्मविश्वास, आत्मसम्मान र खुला दिल–दिमागसँग पनि सम्बन्धित हुने रहेछ । कति प्राध्यापकलाई लाग्नेरहेछ, जुत्ता खोलेर नांगो खुट्टाले उभिएर क्लासमा पढाउनु भनेको खाली दिमागले पढाउनुजस्तै हो । एउटा रमाइलो किस्सा उल्लेख गरूँ । यूएसएको कोर्नेल विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले संयुक्त रूपमा सञ्चालन गरेको एउटा कार्यक्रम कीर्तिपुरमा थियो— कोर्नेल नेपाल अध्ययन कार्यक्रम । कार्यक्रमको क्लासरुममा विद्यार्थी तथा प्राध्यापक सबैले जुत्ता बाहिरै खोलेर चकटीमा बसेर, लो–टेबलहरूमा नोट लेख्ने, पढ्ने पढाउने किसिमको व्यवस्था थियो । त्यस कार्यक्रममा त्रिविका र त्रिविबाहिरका समेत प्राध्यापक तथा विषय विज्ञहरू आएर विभिन्न विषयमा पढाउनुहुन्थ्यो । एकपटक स्वर्गीय डा. प्रह्लाद योञ्जनको क्लास थियो तर उहाँले त्यसभन्दा अघिल्लो सिमेस्टरमा पनि पढाउन आउनुभएको थियो । दोस्रोपटक क्लास सुरु हुने समयमा उहाँले ब्याक–प्याकबाट एक जोर जुत्ता निकाल्दै भन्नुभयो, ‘यो कार्यक्रममा जुत्ता खोलेर, बसेर पढाउनुपर्ने चलन रहेछ तर दुइटा कुरा । एउटा त म बसेर क्लासमा पढाउन सक्दिनँ । दोस्रो जुत्ता नलाईकन मैले क्लासमा पढाउँदा के पढाएँ भन्ने थाहै पाउँदिन । अस्तिको सिमेस्टरमा त्यस्तै भयो र यसपालि क्लासमै लाउनका लागि नै नयाँ जुत्ता किनेर ल्याएको छु । पुरानो जुत्ता बाहिर ढोकामै खोलेर आएँ ।’ पीएचडीको अनुसन्धान लाङटाङ क्षेत्रको रेड पान्डामा गरेका र नेपालमा पाटे बाघको गणनामा संलग्न स्वर्गीय योञ्जन आफ्नो विषयका होनहार वैज्ञानिक थिए । प्रकृति र वातावरण संरक्षणका अभियन्ता पनि थिए ।
थोरै आफ्नै कुरा किन नगरूँ ? हाम्रो युवावयमा जुत्ताको दुःख थियो । ब्रिटिस गोर्खा भर्तीमा हङकङ जाने लाहुरेले ल्याएको जुत्ता बडो आकर्षक लाग्थ्यो । लाहुरे हुन एक बारको जुनीमा म पनि भिडें एकपटक । पूर्वमा धरानको घोपा
(हाल बीपी मेमोरियल हस्पिटल) मा थियो— डिपो रिक्रुटमेन्ट सेन्टर । छनोटको एक चरणमा दौडनुपर्‍यो । दौडिन ‘रेडी’, ‘गेट’, ‘सेट’– हुँदै गर्दा गल्लावाल तथा एआरओ (एरिया रिक्रुटमेन्ट अफिसर) छेउमै उभिएर कराए, ‘केटा हो, जुत्ता, झोला, घडी, रेडियो, क्यामेरा सम्झेर कुद ।’ म भर्ती लागिनँ, फेल भएँ । तर, त्यो कुरकुरे बैंसमा भर्ती हुन नसकेको पीडाले कुन हीनग्रन्थिमा हान्यो कुन्नि, आज पनि जुत्ता–झोलाको परख गर्न मन लाग्छ ।
एउटा हिन्दी सिनेमामा नक्कली कर्णेल बनेर आएका अमिताभ बच्चनको जुत्ताको सोल प्वाल परेको देखेर कादर खान भन्छन्, ‘आद्मीको पहेचान ना है तो जुते से देख्ना पडेगा ।’ कादर खानको यो डायलगले बुझाउँछ— जुत्तामार्फत मानिसको सामजिक, वर्गीय हैसियत देखिन्छ । हुन पनि हो, विशिष्ट ऐतिहासिक परिस्थितिहरू र उत्पादनका सम्बन्धहरू रूपान्तरण हुँदै जाँदा जुत्ताले विविध अर्थ प्रतिनिधित्व गर्दै गयो । मलाई लाग्छ, जुत्ता आफैँ सबैभन्दा पहिले त लैंगिक विभाजन र असमानताको सिकार बन्यो । जसै महिला र पुरुषले लगाउने जुत्ता फरक–फरक बन्न थाले, तसै धनीमानी र गरिबगुरुवाका लागि पनि फरक–फरक जुत्ता उत्पादन हुन थाले । श्रम विभाजनसँगै श्रमिकले लगाउने जुत्ता र मालिकले लाउने जुत्ता फरक भयो ।
फ्रेन्च समाजशास्त्री पियरे वोर्दिउले कुनै पनि कुराको स्वाद, पसन्द र व्यक्तिको वर्गीय पृष्ठभूमिबीच सम्बन्धबारे अत्यन्त चित्तबुझ्दो विश्लेषण गरेका छन् । उनी कसलाई के मन पर्छ, कुन व्यक्ति कुन खानेकुरा वा लगाउने कुराको पारखी हुन्छ, कुन गीत, संगीतले कसको मन रमाउँछ भन्ने कुरा व्यक्तिको वर्गीय र सांस्कृतिक पृष्ठभूमिसँग सम्बन्धित हुन्छ भन्छन् । हामीमध्ये पनि कसैलाई गजल मीठो लाग्छ भने कसैलाई गाउँघरकै दोहोरी मन पर्छ । कोही लोकगीतका पारखी छन् भने कोही आधुनिक गीत मीठो मान्छन् । यसरी वोर्दिउका दृष्टिकोणअनुसार त जुत्ता पनि आ–आफ्नो स्वादअनुसारको हुने रहेछ । कसलाई कुन जुत्ता स्वादिलो लाग्छ, कुन ब्रान्डको जुत्ताले कसको मन हरण गर्छ भन्ने अध्ययन गर्ने हो भने पनि समाजको वर्गीय पक्षको एउटा पाटो बुझ्न सकिन्छ । आजको जुत्ता–रासन (अति आवश्यक कुरा) मात्र होइन, फेसन पनि हो । आजको जुत्ताको उपयोग–मूल्य मात्र हुँदैन, वस्तु–पूज्य मूल्य पनि हुन्छ । जय जुत्ता !
@chemjongd

कोसेली

अग्निवर्षा कविता

- विमल निभा

महिला रचित
संख्य–असंख्य
कविताहरु

जे महिला
त्यही कविता
जहाँ महिला
त्यहाँ कविताहरु
जति थिचिएका महिला
त्यतिकै कविता
जसरी चिन्तित महिला
त्यसरी नै कविताहरु
जस्तो मौन महिला
त्यस्तो कविता
जसो दुःखी महिला
उसो कविता
जस्तै गम्भीर महिला
त्यस्तै कविता
जता महिला
त्यता कविताहरु
जे जे महिला
त्यही त्यही कविता
जे जस्तो जीवन
महिलाहरुका
उस्तो कविताहरु पनि
हो, जुन महिला
शान्त, मुखर र प्रेममय
अतिशय क्रुद्ध
एवम् विचारशील महिला
अर्थात् महिला कवि
त्यो नै कविता

आठ हजार
र, तीन सय वर्षदेखि
असमान चिसोमा तप्त
महिला कविका
पुरूषार्थी
होइन, पुरूषजयी
अग्निवर्षा कविताहरु