You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

तनाव व्यवस्थापनमा चुक्दा

बढी कमाउने प्रलोभनमा ऋण लिएर गरेको लगानी डुब्न थालेपछि परिवारसहित आत्महत्या प्रयास गरेका युवाले श्रीमती र दुई छोरा गुमाएका छन्
- हरिहरसिंह राठौर,मातृका दाहाल
विनय लामिछाने (दायाँ) । त्रिशूलीमा डुबेर मृत्यु भएकी उनकी पत्नी जमुना र बेपत्ता छोराहरू । तस्बिर ः विनयको फेसबुकबाट

(धादिङ/काठमाडौं) - व्यवस्थापन विषयका लेक्चरर विनय लामिछाने आफैंमा एक कुशल व्यवस्थापक पनि थिए । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मंगलोदय क्याम्पसमा व्यवस्थापन संकायमा पढाउँदै आएका उनले व्यवसायमा पनि हात हालेका थिए । सेयर र कमोडिटी मार्केटमा उनको लगानी थियो । उनी ‘वेस्ट काठमाडौं बिजनेस इन्भेस्टमेन्ट प्रालि’ का प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।
डेढ वर्षअघिदेखि सेयर र कमोडिटी मार्केटमा लगानी गरेका विनयले ६ महिनासम्म राम्रै नाफा कमाए । त्यसपछि लोभिएर लगानी बढाए ।
तर दुर्भाग्य, नाफा पहिलेझैं निरन्तर हुन सकेन । एक वर्षको अवधिमा डेढ करोडभन्दा बढी घाटा व्यहोरेपछि उनको जिन्दगीले अर्कै मोड लियो । हिसाब गर्दा आफ्ना भएभरको जायजेथाले पनि ऋण र सापटी तिर्न नभ्याउने भयो ।
त्यसपछि तनाव व्यवस्थापन गर्न नसकेका लामिछाने गलत निर्णयमा पुगे । अन्ततः पत्नी र दुई अबोध छोरासहित बिहीबार साँझ त्रिशूली नदीमा हेलिन पुगे ।
मकवानपुर, चित्लाङका विनयले धादिङको सिद्धलेख–७, बडघरेकी जमुना रेग्मीसँग २०७४ मा विवाह गरेका थिए । उनीहरूका दुई वर्षीय छोरा विजन र ६ महिनाका रिजन थिए । रिजनको शुक्रबारै पास्नीको साइत जुरेको थियो । तर परिवारमा सुतक परेकाले उनी पास्नी छोडेर श्रीमती र दुई छोरासहित घरबाट निस्किए ।
घर छोड्नुअघि विनयले जमुनासँग भनेका थिए, ‘म ऋणमा डुबिसकें, अब मर्छु ।’ जबाफमा जमुनाले ‘एक्लै होइन, परिवार नै सँगसँगै मरौं’ भनेपछि उनीहरू दुवै छोरालाई लिएर धादिङतर्फ लागेका थिए । घर छोड्नुअघि विनयले लेखेको तीन पाना लामो ‘सुसाइड नोट’ मा ऋण तिर्नुपर्ने लामो फेहरिस्तसहित आफू मृत्यु रोज्न बाध्य भएको खुलाएका छन् । ‘यो पढ्नु होला’ शीर्षकमा हरियो अक्षरमा लेखिएको सुसाइड नोटमा परिवार नै मास्नुपरेको कारण उल्लेख गरेका छन् । गएको वर्षदेखि व्यापार निकै खस्केको, सापटी लिएका मानिसले फोन गरेर चर्को मानसिक तनाव दिएको र आफ्नो अंश लाग्ने सम्पत्ति बेच्दा पनि सापटी र ऋण तिर्न नसक्ने अवस्था आएकाले श्रीमती र छोराहरूसहित परिवारले नै मृत्युवरण गर्नर् ेनिर्णय गरेको उनले सुसाइड नोटमा लेखेका छन् ।
धादिङको बेनीघाटस्थित सिउरेनीटार जोड्ने पुलमुनिबाट ६ महिनाका छोरा रिजनलाई श्रीमती र दुईवर्षे विजनलाई विनय आफैंले काखमा लिएर नडुबुन्जेल त्रिशूलीमा हेलिएका थिए । संयोगले विनयलाई जलयात्रा गर्ने समूहले जीवितै उद्धार गर्‍यो । तर जमुना दुई छोरासहित बेपत्ता भइन् ।

केहीबेरमा जमुनाको शव फेला परेको गजुरीस्थित इलाका प्रहरी कार्यालयका डीएसपी खड्गबहादुर खड्काले बताए । त्रिशूलीमा हेलिनुअघि यो दम्पतीले साँझ करिब ६ बजे बेनीघाट बजारस्थित बदनकुमारी श्रेष्ठको होटलमा चिया खाएको, छोराहरूलाई दूध पिलाएको र पानी परिरहेकाले छातासमेत किनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्थानीयका अनुसार विनयको परिवार करिब पौने ७ बजे त्रिशूलीमा हेलिएको अनुमान छ । नदीमा पस्नुअघि जमुनाले त्रिशूली किनारमा छाडेका झोलामा दुइटा मोबाइल र चाँदीका दुइटा बाला फेला परेका छन् ।
चिया पिएको होटल तलबाट सिउरेनीटार जाने झोलुंगे पुल तरेर गोरखातर्फको विगफिग रिसोर्ट किनार हुँदै विनय दम्पती लागेका थिए । रिसोर्ट नजिकैको किनारबाट त्रिशूलीमा पसेर बगेको देखेपछि झोलुंगे पुल तर्न लागेका स्थानीय कराएका थिए । तत्कालै विगफिग रिसोर्टबाट राजेन्द्र श्रेष्ठ उद्धार सामग्री लिएर त्रिशूली नदी पुगे । त्यतिबेलासम्म जमुना २ छोरासहित नदीमा हराइसकेकी थिइन् । विनयलाई भने पानी पिएको अवस्थामा उद्धार गरिएको हो ।
हाल गजुरी प्रहरीको नियन्त्रणमा रहेका विनयले अब आफू आत्महत्या गर्छु भन्दा श्रीमतीले पनि सँगै मर्ने बताएका कारण परिवारले नै मृत्यु रोजेको बयान दिएका छन् । ‘आमाबाबुको मृत्युपछि नाबालक छोराहरू झनै बिचल्लीमा पर्ने देखेर सँगै लग्नुपरेको हो,’ प्रहरीसँगको बयानमा विनयले भनेका छन् ।
परिवार नै मास्ने योजना बनाएका विनयले १३ जना आफन्त, चन्द्रागिरि, सिद्धेश्वर र नवीन सहकारीलाई ५० हजारदेखि १५ लाख रुपैयाँसम्म तिर्न बाँकी रहेको व्यहोरा सुसाइड नोटमाछ । उक्त ऋण आफ्नो अंशको जायजेथा बेचेर पुगेसम्मको ऋृण तिरिदिन तथा बेचबिखन हुन्जेलसम्म कुर्न पनि ऋणीलाई उनले आग्रह गरेको नोटबाट खुलेको छ ।
सुसाइड नोट फेला परेपछि कान्तिपुरसँग सम्पर्कमा आएका चन्द्रागिरि सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले विनय सहकारीको सदस्य रहेको र उनले दुई पटकमा १ लाख ५८ हजार रुपैयाँ ऋण लिएको बताए । विनय २०६५ फागुनमा सहकारीको सदस्य बनेका थिए । यसबाहेक उनले अरु दुई सहकारीबाट पनि ऋण लिएको पाइएको छ । उनले आफन्त र अन्य व्यक्तिबाट पनि मिटरब्याजमा ऋण लिएका थिए । ‘केही दिनयता उहाँ निराश हुनुहुन्थ्यो, बोल्दा पनि झर्कने, एकोहोरो जस्तो देखिने व्यवहार हुन्थ्यो,’ विनयका एक साथीले शुक्रबार साँझ कान्तिपुरसँग भने, ‘म ऋणमा डुबे, जायजेथाले पनि धान्न सक्तैन जस्तो लागिसक्यो भन्ने कुरा गर्नुहुन्थ्यो ।’ ती साथीका अनुसार विनयको थानकोटमा ३ करोडभन्दा बढीको जायजेथा छ ।
सुसाइड नोटमा उल्लेख गरिएअनुसार ८६ लाख रुपैयाँ तिर्नॅपर्ने देखिए पनि गजुरीस्थित प्रहरीलाई विनयले पछिल्लो एक वर्षको अवधिमा करिब डेढ करोड रुपैयाँ घाटा लागेको बयान दिएका छन् । धादिङ प्रहरीका एसपी रवीन्द्र रेग्मीले यी सबैबारे थप अनुसन्धान भइरहेको बताए ।


कमोडिटिजका कारोबारी
व्यवस्थापन विषयका ज्ञाता विनय सेयर मार्केटसँगै कमोडिटिज मार्केटका पनि जानकार हुन् । विनयले परिवारसहित मृत्यु रोज्नुको प्रमुख कारण भने उनले झैं व्यापार घाटा नै देखिन्छ । विनय कमोडिटिजका ‘१३ नम्बर’ दलाल रहेको खुलेको छ । उनी ‘वेस्ट काठमाडौं बिजनेस इन्भेस्टमेन्ट प्रालि’ का प्रमुख कार्यकारी अधिकृत पनि हुन् । प्रहरीले फेला पारेको मोबाइलमा विनयले आफू ऋणमा डुबेको र आफू आबद्ध अनलाइन कारोबार ‘नेपाल डेरिभेटिभ एक्सचेन्ज प्रालि’ का कार्यकारी निर्देशकलाई ऋणबाट उकास्न गरेको आग्रहसहितको भिडियो सन्देश पनि फेला परेको छ । डेरिभेटिभ एक्सचेन्जमा सूचीकृत २९ अनलाइन संस्था ‘ट्रेन्डिङ मेम्बर’ रहेकोमा विनयको संस्था १३ औं नम्बरको हो । सेयर कारोबार जस्तै कमोडिटिज बजार अपरेसन गर्ने संस्था हो, नेपाल डेरिभेटिभ एक्सचेन्ज प्रालि । यसमा आफ्नो संस्थामार्फत कारोबार गर्न ३ वटा बैंकमा खाता खोलेर विनयले कारोबार गरेको देखिन्छ । आफ्नो कारोबार घाटामा गएपछि उकास्न उनले चर्को ब्याजमा रकम लिएर लगानी गरेको पनि देखिएको छ ।
विनय दम्पती नै कमोडिटी अनलाइन कारोबारमा आबद्ध थिए । उनीहरू तीनकुनेस्थित नेपाल डेरिभेटिभ एक्सचेन्ज लिमिटेडमार्फत बजार भाउ हेरेर सुन, चाँदी, तामा र पेट्रोलियम पदार्थमा बैंक खातामार्फत लगानी गर्थे । सुन लगायतका धातुको मूल्य
घट्दा खरिद गर्ने र वृद्धि भएको समयमा बेचेर नाफा लिने गर्थे । खरिद गरिएको वस्तु र रकम अनलाइनमै कारोबार हुन्थे, खरिद/बिक्री गरेको सामानको नाफा/घाटा बैंक खातामै जम्मा हुन्थ्यो । कमोडिटीमा लगानी गर्न विनयले नेपाल बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट र अर्को एक बैंकमा खाता खोलेका थिए । सुरुमा नाफामा गए पनि एक वर्षयता डेढ करोड घाटामा व्यहोरे पनि आफन्त र सहकारीबाट चर्को ब्याजमा ऋण लिए । लगानी गरेको घाटामा जान थालेपछि आफन्तले पनि ऋण पत्याउन छोडेर विनयमा निराशा छाउन थालेको चिनेजानेका व्यक्तिले बताए । आफूबाहेक अन्य थुप्रै व्यक्ति अनलाइन सेयर मार्केटमा डुबेको पनि उनले बताएका छन् ।


आत्महत्या दुरुत्साहनमा अनुसन्धान
ऋणमा डुबेपछि मृत्युको बाटो रोजेका विनयले अन्ततः श्रीमती र दुई अबोध छोरालाई गुमाए । उद्धार गरिए लगत्तै उनी आत्महत्या दुरुत्साहन गरेको कसुरमा पक्राउ परेका छन् । त्रिशूलीबाट उद्धार गरेपछि गजुरी प्रहरीले उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । कानूनले आत्महत्या गर्न र उकास्न बर्जित गरेको छ । बालकको बाँच्न पाउने अधिकारसमेत विनयले हनन गरेको एसपी रेग्मीले बताए । प्रहरीसँग विनयले ‘म बाँचेर अनर्थ भो, मर्न दिनुहोस् वा कहिल्यै नछुट्ने गरी कैद पठाउनुहोस्’ भन्ने गरेका छन् । आफूलाई जन्मकैद हुने गरी सजाय गरे मात्रै अनुसन्धानमा सहयोग गर्ने बताएको एक अनुसन्धान अधिकृतले बताए ।


जमुनाको शव परिवारलाई हस्तान्तरण
त्रिशूली नदीमा पसेर ज्यान गुमाएकी विनयकी श्रीमती जमुनाको शव प्रहरीले आफन्तको जिम्मा लगाएको छ । शुक्रबार पोस्टमार्टमपछि प्रहरीले शव विनयका दाइ जेठाजु हरिहर लामिछानेको जिम्मा लगाएको हो । पानीमा डुबेर बेपत्ता भएका दुई अबोध बालक अझै भेटिएका छैनन् । शुक्रबार दिनभर पानी परेकाले बेपत्ताको खोजी कठिन भएको प्रहरीले जनाएको छ ।

मुख्य पृष्ठ

किन हुन्छ सामूहिक आत्महत्या ?

- गोकर्ण गौतम

(काठमाडौं) - धादिङमा बिहीबार साँझ भएको घटनाले सामूहिक आत्महत्या प्रयास किन बढ्दै छ भन्ने प्रश्न फेरि जगाइदिएको छ ।
गत वर्ष चितवनको भरतपुर महानगरपालिका–१८, शशीनगरमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका थिए । सहरी क्लिनिक टोलकी ३५ वर्षीया माया आलेमगर, उनका १४ वर्षीया छोरी विनिता र १२ वर्षे छोरा विवेक सलमा झुन्डिएका थिए । विवेकले सुनाइड नोटमा लेखेका थिए, ‘बुबा, तपाईं हामीलाई नसोधी किन जानुभयो ? ममीले साह्रै दुःख मान्नुभएको छ ।’ नेपाली सेनामा कार्यरत उनका बाबु घटनाको दुई दिनअगाडि काठमाडौं फर्किएका थिए । पारिवारिक बेमेलले आमाले बच्चासहित आत्महत्या गरेको खुलेको थियो । अघिल्लो वर्ष बझाङको सुर्मामा एउटै रुखमा पासो लगाएर तीन बालिकाले सामूहिक आत्महत्या गरेका थिए । १४ वर्षे जुनतारा पुजारा, १४ वर्षकै रेखा पुजारा र उनीहरूभन्दा एक वर्ष जेठी कविता बोहराले जंगलमा एउटै रुखमा नाम्लोले पासो लगाएर मृत्यु रोजेका थिए । यो रहस्यमयी घटनाको अन्तर्य त्यतिकै लुक्यो ।
प्रेममा मनमुटाव वा वियोग भएपछि जोडीले आत्महत्या गरेका घटना पनि उत्तिकै छन् । गत वर्ष फागुनमा वीरगन्जमा तीन किशोरकिशोरीले सामूहिक विष सेवन गरेर आत्महत्या प्रयास गरेका थिए । जिरा भवानी गाउँपालिका–४ की १८ वर्षीया संगीताकुमारीको उपचार क्रममा मृत्यु भयो भने मञ्जिता कुमारी र सञ्जय दास समयमै उपचार पाएरकाले बाँचे । मञ्जिताको राज चौधरीसँग र संगीताको सञ्जयसँग प्रेमसम्बन्ध थियो । सञ्जय र राजचाहिँ साथीसाथी । विवाह गरेर भाग्ने प्रयास असफल भएपछि विष सेवन गरेको खुलेको थियो ।
गत साउनमा पर्वतमा झोलुंगे पुलबाट हाम फालेर बागलुङको हरिचौरका २५ वर्षीया मुना राना र धरान उपमहानगरपालिका–११ का २६
वर्षीय अकिन गुरुङले एकसाथ आत्महत्या गरे ।
नेपालमा सन् १९९० दशकको तुलनामा अहिले आत्महत्याको दर ६० प्रतिशत वृद्धि भएको तथ्यांकले देखाउँछ । प्रायः आत्महत्यामा डिप्रेसनको भूमिका हुन्छ । तर आमाबाबु दुवैले एकसाथ बच्चा लिएर आत्महत्या गर्नुमा मानसिकभन्दा सामाजिक हीनताबोधको भय कारण हुने मनोविद् नन्दिता शर्मा बताउँछिन् ।
भर्खरै जन्मिएको बच्चा र आफूसँगै आत्महत्या गर्ने रोगलाई मनोविज्ञानको भाषामा ‘पोस्टपार्टम डिप्रेसन’ भनिन्छ ।
विज्ञहरूका अनुसार प्रायः सामूहिक आत्महत्यामा सामाजिक संरचनाकै दोष हुन्छ । महत्त्वाकांक्षाअनुरूप सफलता नपाउँदा निराशा जन्मन्छ । समाजले तिरस्कार गर्छ भन्ने सोच पैदा हुन्छ । शर्माले भनिन्, ‘मान्छेले सबै अवस्थामा आफूलाई समायोजन गर्न नसक्दा आत्महत्या विकल्प बनेर आउँछ । यसलाई निराकरण गर्न बच्चा हुर्काई पद्धतिमै धैर्य, प्रेम, सहनशीलता, संघर्ष र समस्यासँग जुध्ने आत्मविश्वास सिकाउनुपर्छ ।’ समाज र आफन्तको न्यानोपन आभास हुने हो भने आत्महत्या निराकरण हुने उनको भनाइ छ ।

 

मुख्य पृष्ठ

फेरि हिमपात र वर्षा

अन्नपूर्ण हिँडेका ७ जना सम्पर्कविहीन, गोरखामा हिमपहिरो
- कान्तिपुर संवाददाता

(काठमाडौं) - सुदूरपश्चिम हुँदै भित्रिएको न्यूनचापीय प्रणालीका कारण शुक्रबार देशैभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भागमा हिमपात भएको छ । गोर्खामा हिमपहिरो गएको छ भने पर्यटकीय पदमार्ग अन्नपूर्ण आधारशिविर हिँडेका पाँच विदेशी पर्यटक र दुई नेपाली गाइड सम्पर्कविहीन छन् । निरन्तर वर्षा र खराब मौसमकै कारण चार अन्तर्राष्ट्रिय उडान डाइभर्ट भए भने ३७ आन्तरिक रद्द हुन पुगे ।
पोखरास्थित संवाददाताका अनुसार अन्नपूर्ण आधारशिविर हिँडेका चार कोरियाली, एक चिनियाँ र दुई नेपाली सम्पर्कविहीन छन् ।
‘अन्नपूर्ण बेसक्याम्प (एबीसी) जाने क्रममा नौ कोरियालीमध्ये चार जना सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ,’ गण्डकीका प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले भने, ‘नेपाली भरियासहित गएका एक चिनियाँ र छुट्टै टोलीका दुई नेपाली गाइड पनि सम्पर्कविहीन छन् ।’ कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो आएपछि उनीहरू सम्पर्कमा नरहेको उनले बताए । उक्त वडाको दोभानस्थित डेस्टिनेसन एबीसी होटलका सञ्चालक सुक गुरुङले पनि केही पर्यटक र नेपाली बाटैबाट सम्पर्कविहीन रहेको बताए । अत्यधिक हिमपातले उक्त मार्गमा तत्काल ओहोरदोहोर गर्न सकिने अवस्था छैन । स्थानीय र प्रहरीले उक्त स्थानमा फोनले काम नगरेकाले पनि खोजीमा समस्या भएको बताएका छन् ।
‘एबीसी जाने बाटोमा रहेका होटलमा उनीहरू सुरक्षितसाथ बसेका पनि हुन सक्छन्,’ डीआईजी घिमिरेले भने, ‘टेलिफोन सम्पर्क छैन । अत्यधिक हिमपातले कोही जान सक्ने अवस्था छैन ।’ नजिकै रहेको घान्द्रुक प्रहरी चौकीबाट घटनास्थल पुग्न एक दिन लाग्छ । शुक्रबार बिहान ११ बजेतिर उक्त स्थानमा हिमपहिरो आएको थियो । डीआईजी घिमिरेले स्थानीय र प्रहरीलाई घटनास्थलतर्फ परिचालन गरिएको बताए । कास्की प्रहरीका प्रवक्ता डीएसपी राजकुमार केसीले पनि घटनाबारे अपुष्ट सूचना आएको बताए ।
अत्यधिक हिमपातपछि गएको हिमपहिरोले गोरखामा ट्रेकिङ रुट (पैदल मार्ग) बन्द भएको छ । चुमनुब्री गाउँपालिका–४ नामरुङमा शुक्रबार दिउँसो हिमपहिरो जाँदा लार्केबाट सामागाउँ जाने बाटो बन्द भएको प्रहरीले जनाएको छ । गोरखा प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार करिब ५ सय मिटर माथिबाट आएको हिमपहिरोले लार्केपास ट्रेकिङ रुटको २५ मिटर बाटोमा क्षति पुर्‍याएको छ । ‘बाटो नभएका कारण तत्काललाई आवतजावतमा रोक लगाइएको छ,’ अधिकारीले भने, ‘स्थानीयसँग समन्वय गरी बाटो खुलाउने प्रयासमा छौं ।’
घटनास्थलमा प्रहरी चौकी लार्केका प्रसनि प्रेमबहादुर बानियाँको कमाण्डमा प्रहरी खटाइसकिएको अधिकारीले बताए । हिमालबाट आएको हिमपहिरो नभई स्थानीय पहाडमा अत्यधिक हिमपातपछि पहिरो आएको प्रहरीले जनाएको छ ।
औसतभन्दा बढी वर्षा
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो बर्षको हिउँदमा विगत भन्दा बढी हिमपात र वर्षा भएको छ । न्यूनचापीय प्रणाली बिहीबार दिउँसो नै सूदूरपश्चिम क्षेत्रमा प्रवेश भएसँगै वर्षा सुरु भएको थियो । काठमाडौंसहित मध्य र पूर्वी भागमा शुक्रबार बिहान पानी पर्न थालेको हो । पश्चिम क्षेत्रका तुलनामा पूर्वी भागमा कम वर्षा भएको छ । हिमपात पनि पश्चिमका उच्च पहाडी र हिमाली भागमा बढी छ ।
काठमाडौंमा एक दिनमै औसतभन्दा चार गुणा बढी वर्षा भएको छ । जनवरीमा काठमाडौंमा औसत १४.४ मिलिमिटर पानी पर्ने तथ्यांक छ । तर शुक्रबार एकै दिन ४८ मिलिमिटर वर्षा भएको छ । शुक्रबार काठमाडौंसहित देशैभर निरन्तर वर्षा भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा सबभन्दा बढी ६० मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले यो वर्षको हिउँदमा देशैभर औसतभन्दा बढी वर्षा भएको बताए । ‘पटकपटक न्यूनचापीय प्रणाली विकसित भएकाले बढी पानी परेको हो,’ उनले भने ।
पश्चिम क्षेत्रमा शनिबार बिहानदेखि र काठमाडौंसहित मध्य र पूर्वी भागमा अपराह्नदेखि मौसममा सुधार आउने पौडेलले बताए । महाशाखाका अनुसार शनिबार दिउँसो पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना छ । राति पश्चिमी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्नेछ । यस्तै आइतबार दिउँसो पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने र राति मौसममा केही सुधार आउन सक्ने देखिएको छ ।
उडान प्रभावित
काठमाडौ अवतरण हुनुपर्ने चारवटा अन्तर्राष्ट्रिय उडान शुक्रबार अन्यत्रै डाभइर्ट गरिए । कम्तीमा ३७ वटा आन्तरिक उडान रद्द भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार थाइल्यान्डको राजधानी बैंककबाट आएको थाई एयर काठमाडौंमा अवतरण हुन नसकेपछि बंगलादेशको राजधानी ढाका फर्किएको थियो । थाईको टीजी–३१९ उडान नम्बरको जहाजले काठमाडौं विमानस्थलमा अवतरणका लागि दुईपटक प्रयास गरेको थियो । विमान साँझ ढाकाबाट फेरि बैंककतर्फ फर्कियो ।
बैंककबाटै आएको थाई लायनको अर्को विमान नेपालको सिमानाभित्र आएर भारतको कोलकाता फर्किएको थियो । त्यसैगरी, तिब्बतको ल्हासाबाट काठमाडौं आउने क्रममा रहेको तिब्बत एयरको जहाजले काठमाडौंको मौसम सुधार नभएपछि उडान रद्द गरेको थियो । भारतको राजधानी नयाँदिल्लीबाट आएको इन्डिगो एयरको जहाज पनि नेपाली सिमाभित्र छिर्नुअघि नै दिल्ली फर्किएको थियो । आन्तरिक उडानतर्फ काठमाडौंबाट पहाडी भेगलगायत स्थानका लागि तय भएका ३७ उडान स्थगित भए ।

मुख्य पृष्ठ

अमेरिकी दूतावास भन्छ– 'एमसीसीमा सैन्य मामिला छैन'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै सैन्य गठबन्धन नभएको जनाएको छ । जनस्तरमै पक्षविपक्षमा व्यापक तर्क उठेपछि काठमाडौंस्थित दूतावासले शुक्रबार दसबुँदे विज्ञप्ति जारी गरेर एमसीसीमा कुनै सैन्य मामिला नजोडिएको बताएको हो ।
दूतावासले अमेरिकी कानुनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेध गरेको दाबी गरेको छ । उसले एमसीसीलाई ‘विशुद्ध रूपमा आर्थिक विकासमा केन्द्रित’ भनेको छ । ‘नेपालमा विद्युत‌् प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासमा सघाउने एमसीसी परियोजनाको लक्ष्य छ,’ विज्ञप्तिमा भनिएको छ । सत्तारूढ नेकपाभित्रै एमसीसी ‘चीनविरुद्ध लक्षित’ इन्डो–प्यासिफिक रणनीतिको अंग भएकाले उसँग भएको परियोजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गर्न नहुने आवाज उठ्न थालेपछि अमेरिकी दूतावासले विज्ञप्तिमार्फत प्रस्टीकरण सार्वजनिक गरेको हो । एमसीसी सम्झौता अनुमोदनका लागि संघीय संसद्मा पेस गरिएको छ, जसलाई यही हिउँदे अधिवेशनमा पारित गराउने सरकारको तयारी छ ।
दूतावासले एमसीसीका सम्बन्धमा उठेका प्रश्नहरूबारे आफू जानकार भएको उल्लेख गरेको छ । ‘हालै नेपाली नागरिक, नेतृत्व र सञ्‍चारकर्मीले एमसीसीको नेपाल कम्प्याक्ट (सम्झौता) बारे सोधिरहनुभएको छ । यस्ता प्रश्‍नलाई हामी स्वागत गर्छौं । यस कार्यक्रमभित्र नेपालका लागि केकस्ता लाभ छन् भन्नेसम्बन्धी बुझाइ निर्माणमा नेपाली जनसाधारणको सहभागितालाई पनि हामी स्वागत गर्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय विकासका निम्ति पारदर्शिता तथा सच्चा साझेदारीमा आधारित नयाँ मोडलका रूपमा एमसीसी स्थापना भएको हो ।’

एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुनुपर्ने प्रावधानमाथि समेत आलोचना भइरहेको छ । यस सम्बन्धमा दूतावासले भनेको छ, ‘एमसीसीले काम गर्ने प्रत्येक मुलुकमा झैं नेपालमा पनि संसदीय अनुमोदन जरुरी छ । यसबाट पारदर्शिता स्थापित हुन्छ र नेपालीलाई परियोजनाबारे बुझ्ने अवसर पनि प्राप्‍त हुन्छ ।’
एमसीसी परियोजनाको कुनै अदृश्य स्वार्थ नभएको दूतावासले जनाएको छ । ‘यो ५० करोड डलरको अनुदान हो, जसमा कुनै स्वार्थ छैन, ब्याजदर छैन वा कुनै लुकेको प्रावधान छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालले गर्नॅपर्ने भनेको सहमति भइसकेका परियोजनामा पारदर्शी रूपमा खर्च गर्न प्रतिबद्ध हुनु मात्र हो ।’ अमेरिकी दूतावासले एमसीसीमा सहभागी हुन नेपालले कतै पनि सम्मिलित हुनु वा हस्ताक्षर गर्नॅ नपर्ने पनि जनाएको छ ।
नेपालका हरेक सरकार र सत्तामा छँदा राजनीतिक दलले विगतमा आर्थिक विकासका लागि एमसीसी कम्प्याक्ट गर्ने इच्छा व्यक्त गरेको उल्लेख गर्दै दूतावासले भनेको छ, ‘नेपालको नेतृत्वको आग्रहमा अमेरिकी सरकारले सन् २०१२ मा नेपालसँग सहकार्य गर्दै एमसीसी परियोजना विकास गर्ने कार्य थालनी भएको हो ।’ एमसीसीले नेपालमा कुन परियोजनामा खर्च गर्ने भन्ने विषय आफ्नै प्राथमिकताका आधारमा नेपालीले नै प्रस्ताव र निर्क्योल गरेको दूतावासले जनाएको छ ।’
एमसीसी परियोजनामा नेपालीलाई नेतृत्व गर्न नदिने प्रावधान रहेको भनी उठेको टिप्पणीमा दूतावासले भनेको छ, ‘एमसीसी सम्झौताको प्रावधानअनुसार परियोजना कार्यान्वयनको नेतृत्व गर्न नेपालले नेपालीलाई नै लगाउनु आवश्यक छ ।’ एमसीसी परियोजनाका टेन्डरहरू खुला, पारदर्शी र सबैका लागि उपलब्ध हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । एमसीसीबारे जिज्ञासा भए ‘एमसीसी डट जीओभी’ मा गई सबै जानकारी लिन वा आफ्नो सूचना अधिकृत एड्रिया डी आरमेन्टसँग सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।

 

Page 2
समाचार

उस्तै कसुरदार, दुई थरी फैसला

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले एक साताको अवधिमा गरेका दुई बन्दीप्रत्यक्षीकरणका मुद्दामा भएका आदेश एकअर्कामा बाझिन्छन् ।
- कृष्ण ज्ञवाली

(काठमाडौं) -  उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट एक साता अवधिमा दुई फरक फैसला भएको भेटिएको छ । बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भई ३ वर्षका दरले कैदको फैसला भएका दुई फरक व्यक्तिका हकमा उच्च अदालत बुटवलले फरक–फरक आदेश जारी गरेको हो ।
कसुरदार ठहर भई म्याद नबुझेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि दुवै जनाले बन्दीप्रत्यक्षीकरणको निवेदन हालेका थिए । गत पुस २२ गते न्यायाधीश शेषराज शिवाकोटी र दीपेन्द्रबहादुर बमको इजलासले अधिवक्ता अर्जुनबहादुर कार्कीलाई गैरकानुनी थुनामा राखेको ठहर गर्दै रिहा गर्न आदेश गर्‍यो भने पक्राउ गर्ने प्रहरी र अदालतका स्रेस्तेदारलाई कारबाहीको निर्णयसमेत सुनायो ।
त्यसको ६ दिनपछि केशवराज जोशी र कृष्णकमल अधिकारीको इजलासले राजेन्द्रप्रसाद ध्वजुको हकमा बन्दीप्रत्यक्षीकरण आदेश जारी नगरी उनलाई पक्राउ गर्ने काम ‘कानुनसम्मत भएको’ ठहर्‍यायो । कार्की र ध्वजु एउटै मुद्दामा कसुरदार ठहरिएका व्यक्ति हुन् । उनीहरूको कसुर के थियो ? त्यो जान्न उच्च अदालत पाटनबाट गत वर्ष टुंगिएको अर्को मुद्दाको विषयवस्तुमा प्रवेश गर्नुपर्ने हुन्छ ।

२०७१ माघ ८ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उच्च अदालत पाटनमा एकैसाथ ११ वटा मुद्दा दर्ता गर्‍यो । बुटवल फाइनान्समा भएको अनियमितताको अनुगमन गरेपछि नेपाल राष्ट्र बैंकको वित्त कम्पनी सुपरिवेक्षण विभागको पत्रका आधारमा ब्युरोले अनुसन्धान गरेर ‘बैंकिङ कसुर’ को मुद्दा अघि बढाएको थियो ।
नेपाल राष्ट्र बैंकको वित्त कम्पनी सुपरिवेक्षण विभागले अनुगमन गर्दा बुटवल फाइनान्सबाट एउटा कमसल धितोमा बढी ऋण प्रवाह भएको भेट्यो । करिब एक करोड रुपैयाँ मात्रै मूल्यांकन हुने सरस्वती थापा भण्डारीको जग्गालाई ३ करोड २१ लाख रुपैयाँको मूल्यांकन गरेर दुई करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । छानबिनका क्रममा देवेन्द्र ध्वजुले सञ्चालक समिति र कर्जा समितिमा आफ्ना नातेदार राखी बहुमतका आधारमा निर्णय गराएको खुल्यो । कानुनविपरीत उनी स्वयं कर्जा समितिका संयोजक बनेका थिए ।
गलत विवरणको आरोपमा कृत्रिम व्यवसायलाई कर्जा दिएको, धितोको ज्यादा मूल्यांकन गरी बढी ऋण प्रवाह गरेको आरोपमा छानबिन अघि बढ्यो । फाइनान्सका अध्यक्ष देवेन्द्र ध्वजुले आफ्नो चिनजानकी सरस्वती थापा भण्डारीलाई प्रयोग गरेर ऋणका लागि निवेदन दिन लगाएको खुल्यो । जग्गा राख्नेबाहेक कुनै अरू विषय उनलाई थाहा थिएन । छानबिन हुँदा उनको नाममा खाता खोलेर चेकमार्फत रकमसमेत देवेन्द्र ध्वजुले आफ्ना अरू व्यावसायिक कम्पनीलाई भुक्तानी गरेको भेटियो । छानबिन हुँदासम्म व्याजसमेत जोडिएर ऋण रकम ३ करोड २० लाख पुगेको थियो ।
फाइनान्सका अध्यक्ष ध्वजुलाई ३ वर्ष कैद, ३ करोड २० लाख बिगो अनि बिगोबमोजिम जरिवाना फैसला भयो । राजेशकिरण श्रेष्ठ, तुलसी पाण्डे, प्रदीपबहादुर प्रधान र अर्जुनबहादुर कार्कीलाई ३ करोड २० लाखको दामासाहीले जरिवाना र ३ वर्ष कैद हुने फैसला भयो । पहिले नै २ लाख रुपैयाँ धरौटी बुझाएकाले कानुन व्यवसायी कार्कीको ७८ लाख रुपैयाँ जरिवाना लगतमा बाँकी छ । सञ्चालक राजेन्द्रप्रसाद ध्वजुको हकमा ३ वर्ष कैद र ३२ लाख जरिवाना हुने फैसला भयो ।
धितोको बढी मूल्यांकन गरी ऋण प्रवाह गरेको, त्यो ऋण फेरि आफ्नै नाममा लिएको र सबै पदमा नातेदार नियुक्त गरेको आरोपमा बुटवल फाइनान्सका अध्यक्ष देवेन्द्रप्रसाद ध्वजु पनि उक्त मुद्दामा दोषी ठहर भएका थिए । २०७५ फागुन ५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू रमेश पोखरेल र अच्युतप्रसाद भण्डारीको इजलासले अधिवक्ता कार्कीसहितका व्यक्तिलाई बैंकिङ कसुरको अभियोगमा दोष ठहर गरेपछि कार्की र ध्वजुले अदालतबाट म्याद बुझेका थिएनन् ।


अपराधी पक्रँदा सजाय
गतवर्ष उच्च अदालत पाटनले गरेको फैसला कार्यान्वयनका क्रममा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराईले अधिवक्तासमेत रहेका कार्की र फाइनान्सका तत्कालीन सञ्चालक ध्वजुलाई पक्राउ गरी जिल्ला अदालत रूपन्देहीमा हाजिर गराए । अदालतका तहसिल्दार कृष्ण पौडेलले अपराधी ठहर भएका दुवैलाई कैदी पुर्जी दिएर थुनामा पठाइदिए । त्यतिन्जेलसम्म पाल्पा भैरवस्थान घर भएका कार्कीको नाममा जिल्ला अदालत पाल्पाले समेत म्याद तामेल गर्न सकेको थिएन ।
पक्राउ परी कैद भएको भोलिपल्ट अधिवक्तासमेत रहेका कार्कीले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उच्च अदालतको बुटवल इजलासमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिए । निवेदन परेकै दिन न्यायाधीश शिवाकोटीको इजलासले बन्दीलाई उपस्थित गराउन आदेश दियो भने भोलिपल्ट शिवाकोटी र बमको इजलासले कार्कीलाई गैरकानुनी रूपमा थुनामा राखेको ठहर गर्दै रिहा गर्न आदेश दियो । अनि निर्दोष व्यक्तिलाई गैरकानुनी रूपमा थुनेको ठहर गर्दै डीएसपी भीमलाल भट्टराईलाई ५० रुपैयाँ जरिवाना हुने र जिल्ला अदालत रूपन्देहीका तहसिल्दार कृष्ण पौडेललाई सचेत गराउने फैसला गरे ।
एक साताभित्रै पूर्णपाठसमेत तयार पारिएको फैसलामा मुलुकी फौजदारी कार्यविधि संहिता ऐनको दफा १५३ को उपदफा (१) (क) उद्धृत गरिएको छ । जसमा ‘कानुनबमोजिम पुनरावेदन लाग्न सक्ने मुद्दामा मुद्दाको अन्तिम किनारा नभएसम्म वा पुनरावेदन नपरेको भए लाग्न सक्ने म्याद भुक्तान नभएसम्म अदालतले फैसला कार्यान्वयन स्थगन गर्नुपर्ने’ भन्ने उल्लेख छ ।
कैद ठहर भएका कार्कीले सर्वोच्च अदालतमा पुनरावेदन दिन बाँकी भएको अनि मुद्दाको अन्तिम किनारा पनि नभएको भन्दै न्यायाधीशद्वय शिवाकोटी र बमको इजलासले तत्काल हतारमा कैद ठहर गर्नु गलत रहेको भनी ठम्यायो । जबकि उपदफा ३ मा ‘माथि जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै कसुरदारलाई कैदको सजाय हुने ठहरी फैसला भएकोमा त्यस्तो कसुरदारलाई तत्काल कैदमा पठाउनुपर्नेछ’ भन्ने व्यवस्था छ । शिवाकोटी र बमको फैसलामा २०६९ सालमा प्रकाशित एउटा नजिरलाई आधार मानिएको छ । तर त्यसभन्दा चार वर्षपछि जारी भएको मुलुकी फौजदारी कार्यविधि संहिता ऐनको व्यवस्थाबारे फैसला ‘मौन’ छ ।
डीएसपी भट्टराईले स्वेच्छाचारी किसिमले व्यक्तिको स्वतन्त्रतामा प्रत्यक्ष असर पर्ने गरी गिरफ्तार गरेको भन्दै ५० रुपैयाँ जरिवानाको निर्णय सुनायो । अनि ‘कैद र जरिवानाको अन्तिम लगत कायम नहुँदै कैदी पुर्जी दिई कार्कीलाई कारागार पठाएको’ भन्दै तहसिल्दार कृष्ण पौडेललाई सचेत गराउन आदेश जारी गर्‍यो । यो आदेशको चर्को विरोध हुनुका साथै गृह प्रशासनले समेत सर्वोच्च अदालतमा असन्तुष्टिको सन्देश पठायो । त्यसपछि फैसलाको पूर्णपाठको तपसिल खण्डमा भने, १५ दिनभित्र डीएसपीले सन्तोषजनक जवाफ दिएमा ‘जरिवानाको लगत नराख्ने’ आदेश दियो । अनि तहसिलदार पौडेलको हकमा पनि सन्तोषजनक जवाफ दिएमा ‘सचेत गराउन परेन’ व्यहोरा उल्लेख छ ।
सातापछि अर्कै आदेश
एकै दिन पक्राउ परेका कानुन व्यवसायीसमेत रहेका कार्की बन्दीप्रत्यक्षीकरणको आदेशबाट रिहा भएपछि अर्का कसुरदार राजेन्द्र ध्वजुले पुस २४ गते उच्च अदालतको बुटवल इजलासमै बन्दीप्रत्यक्षीकरणको निवेदन हाले । आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेको दाबी गरेका ध्वजुको मुद्दा न्यायाधीशद्वय केशवराज जोशी र कृष्णकमल अधिकारीको इजलासमा पुर्‍यो । उनीहरूले निवेदन खारेज हुने फैसला सुनाइदिए ।
ध्वजुलाई ‘कानुनसम्मत पक्राउ गरेको’ ठहर गरेको जोशी र अधिकारीको इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छैन । रायकिताबमा भने ध्वजु पक्राउ हुनु कानुनसम्मत रहेको व्यहोरा उल्लेख गरेको उच्च अदालत स्रोतले बतायो । रायकिताबमा मुलुकी फौजदारी कार्यविधि संहिता ऐनको दफा १५३ को उपदफा ३ उद्धृत गर्दै ‘माथि जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै कसुरदारलाई कैदको सजाय हुने ठहरी फैसला भएकोमा त्यस्तो कसुरदारलाई तत्काल कैदमा पठाउनुपर्नेछ’ भन्ने व्यवस्थाका आधारमा पक्राउ गरिएकाले बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुनु नपर्ने भन्ने छ ।
एउटै मुद्दाबाट दोषी ठहर भएका दुई व्यक्ति पक्राउ गर्दा फरकफरक आदेश भएपछि सांकेतिक कारबाही स्वरूप न्यायपरिषद्ले बुटवल इजलासको नेतृत्व गर्ने न्यायाधीश शिवाकोटीलाई उच्च अदालतको दिपायल इजलासमा सरुवा गरेको छ । शिवाकोटीको ठाउँमा जनकपुरबाट न्यायाधीश बाबुराम रेग्मीलाई पठाइएको छ ।


न्यायाधीशद्वय शेषराज शिवाकोटी र दीपेन्द्रबहादुर बमको इजलास
(पुस २२ गतेको फैसला) ः ‘मुलुकी फौजदारी कार्यविधि संहिता ऐनको दफा १५३ को उपदफा (१) (क) मा ‘कानुनबमोजिम पुनरावेदन लाग्न सक्ने मुद्दामा मुद्दाको अन्तिम किनारा नभएसम्म वा पुनरावेदन नपरेको भए लाग्न सक्ने म्याद भुक्तान नभएसम्म अदालतले फैसला कार्यान्वयन स्थगत गर्नुपर्नेछ’ भन्ने उल्लेख छ । अर्जुनबहादुर कार्कीलाई पक्राउ गर्ने कार्य गैरकानुनी देखियो ।’


न्यायाधीशद्वय केशवराज जोशी र कृष्णकमल अधिकारीको इजलास

(पुस २८ गतेको राय) ः
‘मुलुकी फौजदारी कार्यविधि संहिता ऐनको दफा १५३ को उपदफा ३ मा ‘माथि जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै कसुरदारलाई कैदको सजाय हुने ठहरी फैसला भएकोमा त्यस्तो कसुरदारलाई तत्काल कैदमा पठाउनुपर्नेछ’ भन्ने व्यवस्था छ । ध्वजुलाई पक्राउ गरेको कानुनसम्मत नै देखिँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्नुपरेन ।’

समाचार

‘प्रदेशको अस्तित्व धरापमा’

'संघले कानुन लागू गर्न दिएन'
- कान्तिपुर संवाददाता

 

मकवानपुर (कास)– वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकार र स्थानीय सरकारबीच समन्वय नहुँदा प्रदेशको अस्तित्व धरापमा परेको बताएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले शुक्रबार हेटौंडामा गरेको विकास र समृद्धिमा अन्तरतह समन्वय विषयक कार्यक्रममा उनले संघीय सरकारले प्रदेशले बनाएका कानुन पूर्णरूपमा लागू गर्न नदिएको र स्थानीय तहले प्रदेश सरकारलाई बेवास्ता गरेको बताए ।
मुख्यमन्त्री पौडेलले समन्वयकै समस्याले ढुंगागिट्टी, बालुवा र अवैध क्रसरलाई नियन्त्रण गर्न नसकिएको बताए । ‘बरु केन्द्र र स्थानीय तहबीच समन्वय देखियो । प्रदेशसँग कसैको पनि सरोकार र समन्वय देखिएन,’ उनले भने । केन्द्र प्रदेशमाथि योजनाको भारी मात्र थुपारेर बसेको तर दायित्व बहन नगरेको उनको टिप्पणी छ । ‘संघले जथाभाबी योजना वितरण गरिरहेको छ ।
योजना निर्माण र वितरणमा प्रदेशसँग कुनै पनि किसिमको सहकार्य हुँदैन,’ उनले भने । मुख्यमन्त्री पौडेलले प्रदेश सरकार चारैतिरबाट बाँधिएको बताए । उनले संघीयता कमजोर भए दोष आफूहरूमाथि आउने भन्दै सबैले आआफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारलाई बुझ्न संघ र स्थानीय तहले कन्जुस्याइँ गरेको आरोप लगाए । उनले तीन तहको सरकारबीच समन्वय गर्ने गरी प्रदेश तहमा प्रदेश सरकार समन्वय इकाई गठन गर्ने तयारीमा आफू रहेको पनि जानकारी दिए । ‘संघले
योजना छनोटलाई व्यवस्थित र पारदर्शी बनाउँदै तीन तहबीच समन्वय गरे व्यवस्था परिवर्तन भएको महसुस सबैले गर्नेछन्,’ उनले भने ।

Page 3
समाचार

फुक्दै असहमतिको गाँठो

‘तपाईंले पार्टीमा सर्वसम्मत उम्मेदवार तय गर्न सक्नुभएन, मैले नै संसदीय दलबाट चुनूँ कि कसो ?’ भनी ओलीले दाहाललाई व्यंग्य गरे ।
सभामुखमा सहमति हुनै बाँकी
- कान्तिपुर संवाददाता

(काठमाडौं) - नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकारात्मक रूपमा अघि बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार र शुक्रबार गरी करिब साढे ४ घण्टा दाहालसँग छलफल गरेपछि ओलीले ‘केही भ्रम चिरिएको’ बताएका छन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको माघ ६ को बैठक नसर्ने गरी सहमति हुने दाबी गरेका छन् । सभामुख कसलाई बनाउने भन्नेबारे भने दुई अध्यक्षबीच अझै कुरा मिलिनसकेको स्रोतको भनाइ छ । ‘पात्रबारे अडान यथावत् छ,’ स्रोतले भन्यो, ‘अरू कुरा मिलेर पात्रका विषयमा मात्रै छलफल हुन्थ्यो भने दुई अढाई घण्टासम्म बसेर सघन छलफल
गर्नै पर्दैनथ्यो ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि अध्यक्षद्वयबीच पछिल्लो समयमा भएको छलफल सकारात्मक रूपमा अघि बढेको जानकारी दिए । ‘यसअघि पनि छलफलबाटै धेरै विषयको टुंगो लगाएझैं अध्यक्षद्वयले छलफल गरेरै सहमति गर्नुहुन्छ,’ थापाले कान्तिपुरसँग भने, ‘पछिल्ला दुई दिनको छलफलले छिट्टै निकास निकाल्नेमा उहाँहरू प्रतिबद्ध देखिएको संकेत गर्छ ।’ उनले दुई अध्यक्षबीच दरार सिर्जना गरेर स्वार्थसिद्ध गर्ने उद्देश्यले विभिन्न पक्षहरू खेले पनि त्यो सफल नहुने दाबी गरे ।
ओली र दाहालबीचको सहमतिकै आधारमा सरकारले पुस ४ गतेका लागि संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यतिखेर संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई नै सभामुखको उम्मेदवार बनाउने विषयमा दुई अध्यक्षबीच भद्र सहमति भएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ । त्यही सहमतिका आधारमा अध्यक्षद्वयले नेम्वाङलाई सभामुख चयनबारे सार्वजनिक रूपमा धारणा नराख्न सुझाव पनि दिएका थिए तर पछि पूर्वमाओवादी पक्षको दबाबका कारण अध्यक्ष दाहालले कुरा फेरेको आरोप ओली पक्षधर नेताहरूको छ ।
पछिल्लोपटक नेता वामदेव गौतमको निवासमा भएको भेलामा उपसभामुखको राजीनामा मागेर मात्रै सभामुखको उम्मेदवार चयन गर्ने विषयमा अध्यक्ष दाहालसहितका नेताले सहमति जुटाएपछि ओली रुष्ट बनेका थिए । उनले बाहिर भेला र बैठक गर्नेले नै सभामुख तय गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए । शुक्रबार पनि अध्यक्ष दाहालसँगको भेटमा उनले ‘तपाईंले पार्टीमा सर्वसम्मत उम्मेदवार तय गर्न सक्नुभएन, मैले नै संसदीय दलबाट चुनूँ कि कसो ?’ व्यंग्य गरेका थिए । प्रधानमन्त्रीको यो कटाक्ष भैंसेपाटी भेलाप्रति केन्द्रित रहेको स्रोतको दाबी छ । दाहालले अहिले पार्टीको जिम्मेवारी लिइरहेका छन् भने ओली संसदीय दलका नेता हुन् ।
दाहाल पक्षधर नेताहरू भने प्रधानमन्त्री ओलीसँग दाहालले सभामुख चयनका विषयमा पहिले कुनै सहमति नगरेको दाबी गर्छन् तर सभामुख चयन गर्नुपर्छ भनेरै सरकारले यसअघि भन्दा करिब साता दिनअघि संसद् अधिवेशन डाकेको ब्रिफिङ दाहालले नेकपा संसदीय दलको बैठकमा पनि गरेका थिए । उनले उक्त बैठकमा सभामुखमा सबैलाई मान्य हुने व्यक्ति चयन गरिने पनि बताएका थिए ।
पछि दुई अध्यक्षले आफ्नै पक्षको सभामुख चयन गर्ने कुरालाई प्रतिष्ठाको विषय बनाएपछि उनीहरूबीच केही दिन संवादहीनतासमेत भयो । यसअघि गत असारमा पनि पार्टी एकताका विषयमा दुई अध्यक्षबीच कुरा नहुँदा उनीहरूबीच झन्डै साता दिनसम्म छलफल भएको थिएन । बिहीबार र शुक्रबार भएको छलफल भने सहमतिको निकै नजिक पुगेको अध्यक्षहरूले आफूनिकट नेताहरूलाई बताएका छन् । नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले पनि दुई अध्यक्षको छलफल सकारात्मक भएको जानकारी आएको बताए । ‘प्रधानमन्त्रीज्यू पूर्वमाओवादीलाई नै सभामुख दिन तयार हुनुहुन्छ भन्ने जानकारी आयो तर पात्रका विषयमा उहाँहरूबीच अझै कुरा मिलिसकेको रहेनछ,’ उनले भने । गजुरेल उनै हुन्, जसलाई पछिल्लो समय अध्यक्ष दाहालले सभामुखको दाबेदारका रूपमा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिरहेका छन् । ‘सुरुमा अग्नि सापकोटाको नाम आएको थियो तर उहाँका विरुद्ध मुद्दा छ भन्ने भएपछि अर्को व्यक्ति खोजौं भन्ने कुरा भयो,’ प्रधानमन्त्री निकट एक मन्त्रीले भने, ‘त्यसपछि दाहालले गजुरेलको नाम अघि सार्नुभएको छ तर प्रधानमन्त्रीले जवाफ दिनुभएको छैन ।’ ती मन्त्रीका अनुसार प्रधानमन्त्री अहिले पनि सुवास नेम्वाङकै नाममा अडिग छन् ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखको दाबेदारी प्रस्तुत गरिरहेकी छन् तर उनको नाममा अध्यक्ष दाहालले रुचि नदेखाएपछि तुम्बाहाङ्फेको सम्भावना क्षीण भइसकेको स्रोतहरू बताउँछन् ।
तुम्बाहाङ्फेले पनि सभामुखको उम्मेदवार तय हुनेबित्तिकै आफूले उपसभामुखबाट राजीनामा दिने बताइसकेकी छन् । यसअघि उनले आफैंलाई सभामुखको उम्मेदवार नबनाए उपसभामुखबाट पनि राजीनामा नदिने बताउँदै आएकी थिइन् ।

समाचार

‘सभामुख–उपसभामुख राष्ट्रिय हैसियतको फरक दलबाट’

- कान्तिपुर संवाददाता

(काठमाडौं) - प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुख सत्तारूढ नेकपाले लिए उपसभामुख संसद्मा दलीय हैसियत प्राप्त गर्ने फरक दलबाट हुनुपर्ने माग उठाएको छ । संसद्मा दलीय हैसियत प्राप्त गरेका दलको संख्या चार छ ।
समानुपातिकतर्फ प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेशसभामा डेढ प्रतिशतभन्दा कम मत ल्याउने दलको हैसियत संसद्मा स्वतन्त्रसरह मानिन्छ । कांग्रेस संसदीय दलले नेकपाले सभामुख लिए उपसभामुख दलीय हैसियत प्राप्त कांग्रेस, समाजवादी र राजपामध्ये एक दलबाट हुनुपर्ने मत अघि सारेको हो ।
संसदीय दलको शुक्रबार भएको बैठकपछि राष्ट्रिय सभाका कांग्रेस संसदीय दल नेता सुरेन्द्र पाण्डेले संसद्ले चारवटा दललाई मात्रै चिन्ने बताए । ‘सभामुख सत्तारूढ दलले लिए उपसभामुख हैसियत प्राप्त गरेको फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाप्रति कांग्रेसले ध्यानाकर्षण गराएको हो,’ उनले कान्तिपुरसित भने ।
संसद्मा चार दलका अतिरिक्त राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रको एक/एक सिट छ । सत्तारूढ दलले सभामुख लिने पक्कापक्की छ । सभामुख कसलाई बनाउने भन्नेमै सत्तारूढ दलभित्र रस्साकसी चलिरहेकाले उपसभामुखबारे उसले केही बोलेको छैन । संवैधानिक परिषद्को सदस्यसमेत रहने भएकाले उपसभामुख कसले पाउने भन्ने विषयमा सत्तारूढ र विपक्षी दुवैका लागि चासो बढेको छ । सत्तारूढ दलले संवैधानिक परिषद्मा समेत आफ्नो अनुकूल हुने गरी उपसभामुख अर्को दललाई दिने तयारी गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले भने, ‘माघ ६ गते प्रक्रिया अघि बढाउनुपर्छ । प्रक्रिया अघि बढाउनुअघि नै उपसभामुखले राजीनामा दिए केही भएन । तर उपसभामुखले नै सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउनुभयो भने त्यतिबेला सभामुख अर्को पार्टीले पाउनुपर्छ ।’
सत्तारूढ दल नेकपाका राष्ट्रिय सभा सांसद रामनारायण बिडारी संविधानले संसद्मा राष्ट्रिय हैसियत प्राप्त गरेको नभनी निर्वाचन आयोगमा दर्ता भएका र संसद्मा प्रतिनिधित्व रहेका सबै दलले उपसभामुखमा दाबी गर्न मिल्ने बताउँछन् । ‘सेवा र सुविधा पाउने हिसाबले संसद्मा राष्ट्रिय हैसियत प्राप्त दल भनिएको हो । तर निर्वाचन आयोगमा दल दर्ता गर्ने भनेको के हो ? आयोगमा दर्ता भएको छ र संसद्मा समेत प्रतिनिधित्व छ भने फरक दल जोकोहीले उपसभामुखमा दाबी गर्न मिल्छ,’ उनले भने ।
कांग्रेस संसदीय दलले सत्तारूढ नेकपाका दुई शीर्ष नेताको विवादका कारण संसद्लाई बन्धक बनाइएको भन्दै आपत्ति जनाएको छ । उसले आगामी माघ ६ गतेको प्रतिनिधिसभाको बैठक सञ्चालन गरी सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनसमेत माग गरेको छ ।
सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहनुलाई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको घोर अकर्मण्यता भनी कांग्रेसले टिप्पणी गरेको छ । आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर नेकपाले संसदीय परिपाटीको धज्जी उडाएको र यसले संसदीय व्यवस्थाप्रतिको आस्थामै गम्भीर प्रश्न खडा गरेको कांग्रेसले जनाएको छ । ‘यस्ता गैरजिम्मेवार क्रियाकलापप्रति घोर आपत्ति प्रकट गर्छौं,’ संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले मुलुकको हितमा रहेको जनाउँदै अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौतालाई तत्काल संसद्बाट अनुमोदन गर्न माग गरेको छ । कतिपय सञ्चार माध्यमबाट एमसीसीका विरुद्धमा पार्टी सभापति एवं दलका नेता शेरबहादुर देउवा र कांग्रेसका कतिपय सांसद तथा नेताहरूबाट आएको भनिएको अभिव्यक्ति भ्रमपूर्ण र कपोलकल्पित रहेको भनी कांग्रेसले खण्डन गरेको छ । ‘यस सम्झौतालाई यथाशीघ्र सदनबाट अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस रहेको स्मरण गराउन चाहन्छौं,’ कांग्रेसले भनेको छ ।

Page 4
वाग्मती प्रदेश

डीपीआरले रोकियो एकीकृत बस्ती निर्माण

- कान्तिपुर संवाददाता

रामेछाप (कास)– भूकम्पले ध्वस्त पारेको रामेछापका तीन स्थानमा एकीकृत बस्ती निर्माण गर्ने योजना बनाइए पनि प्रभावकारी काम हुन सकेको छैन । बस्ती निर्माणका लागि आवश्यक विस्तृत योजना प्रतिवेदन (डीपीआर) कै काम प्राविधिक जनशक्तिको अभावमा रोकिएको छ ।
रामेछापको सबैभन्दा बढी प्रभावित मन्थली नगरपालिकाको गाईखुरा माझी बस्तीमा एकीकृत बस्ती निर्माण गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ०७५ भदौ १७ को निर्णय कार्यान्वयन नभइरहेका बेला ०७५ पुस २० मा गुन्साल र दुरागाउँ एकीकृत बस्ती विकास गर्ने निर्णय गरिएको थियो । प्राधिकरणले एकीकृत बस्ती स्वीकृत गरे पनि त्यसको विकासका लागि आवश्यक जनशक्ति जिल्लामा नपठाएका कारण योजनाको काम अघि बढ्न नसकेको हो ।
प्राधिकरणले उक्त तीन वटै एकीकृत बस्तीको डीपीआर बनाएर पठाउन जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) मा भनेको । तर उक्त कार्यालयमा दरबन्दी बमोजिमको प्राविधिक नहुँदा काम अघि बढेको छैन । आयोजना प्रमुख बीरवहादुर रावलका अनुसार प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा एकीकृत बस्तीको डीपीआर बनाउन जनशक्ति माग गरिएको छ । ‘जनशक्ति पठाए हामी चाँडै डीपीआर तयार पारेर कार्यान्वयनका लागि पठाउछौं,’ रावलले भने, ‘अहिलेकै जनशक्तिले उक्त कार्य सम्भव छैन ।’ गैरसरकारी संस्थाको सहयोगमा दुरागाउँ र गुन्सालको डीपीआर बनाउन थालिए पनि पूरा हुन सकेको छैन ।
एकीकृत बस्ती निर्माण हुने गाईखुरामा पीडितहरूले आफूखुसी घर बनाएका छन । एकीकृत बस्तीमा आवासका अतिरिक्त अन्य विकासका पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ । गुन्सीको गुन्सालमा स्थानीय सेतियुवा क्लबको अगुवाइमा अघि सारिएको ३५ परिवारको एकीकृत बस्ती भने लगानीको अभावमा अलपत्र छ । ‘थोरै काम गरेका छौं, पूर्वाधारको काममा भने हातै हालिएको छैन,’ स्थानीय प्रज्वल श्रेष्ठले भने । दोरम्बा गाउँपालिकाले उक्त बस्ती निर्माणका लागि न्यूनतम लगानी गर्ने योजना अघि सारेको छ ।

वाग्मती प्रदेश

हिमपातले सामान ठप्प

- कान्तिपुर संवाददाता

रसुवा (कास)– तिब्बतमा लगातार बाक्लो हिमपात हुँदा केरुङ आउने सामान बाटोमै रोकिएका छन् । बिहीबार बिहानैदेखि तिब्बतमा हिमपात भइरहेको केरुङबाट पुरुषोत्तम पौडेलले बताए । हिमपातका कारण धिङ्ग्री, झोङ्गालगायतका ठाउँमा सडक अवरुद्ध भएको उनले बताए । केरुङका लागि पाँचवटा गाडीमा सामान लोड गरिएको थियो । सामान लोड भएका १० वटा कन्टेनरमा शिल भएको छ । शुक्रबार पनि हिमपात रोकिएको छैन ।
चीनबाट नेपालतर्फ तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ताचप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस लगायतका सामान पैठारी भइरहेको छ । नेपालबाट चीनतर्फ धातुको मूर्ति, शृंगारका सामान, ऊनी, गलैंचा, कार्पेट, भाँडाकुँडालगायत वस्तु निकासी भइरहेको छ ।

वाग्मती प्रदेश

स्कुल होइन, गोठालो जाने हतार

- कान्तिपुर संवाददाता
गोठालो जाने तरखरमा निशा ।तस्बिर ः कान्तिपुर

(चितवन) - बिहानको १० बज्न लाग्दै गर्दा स्कुल जाने बालबालिका फाट्टफुट्ट देखिन थाले । राप्ती नगरपालिका–१३ मा पर्ने पहाडी गाउँ चिउदिङकी निशा तामाङ पनि हतारमा थिइन् । १५ वर्षकी निशा यो बेला आठ/नौ कक्षामा पढ्नुपर्ने हो । तर उनी विद्यालय जान छाडेको वर्षौं भयो । उनको हतारो किताब बोकेर विद्यालय जान थिएन, लौरो समाएर गोठालो दौडिन थियो ।
‘बाले गाईबाख्रा फुकाएर माथि पुर्‍याइसके, अब दिनभरि मैले हेर्नुपर्छ,’ उनले भनिन् । हस्तबहादुर र बिमाया तामाङको कान्छी सन्तान हुन् निशा । बिमायाको कोखबाट सात छोरी र एउटा छोरा जन्मिए । जेठी छोरी साढे तीन वर्षमा नै बितिन् । माइली संगीता अहिले ३५ वर्षकी भइन् । ‘निमोनिया भएपछि उपचार नपाउँदा सानै उमेरमा जेठी छोरी बिती,’ बिमाया सुनाउँछिन्, ‘६ छोरी र एक छोराचाहिँ हुर्किए ।’ छोरा दीपकुमारले पाँच र कान्छी निशाले दुई पक्षासम्म पढे पनि अरू कोही सन्तानले स्कुल टेकेनन् । ‘उः बेलामा स्कुलै थिएन अनि कसरी पढ्न पठाउनु ?’ बिमाया उल्टै प्रश्न गर्छिन् । स्कुलमात्रै होइन बिरामी भए जँचाउने ठाउँसमेत गाउँमा नभएको उनको भनाइ छ । उपचार गराउन नपाउँदा निमोनिया भएकी जेठी छोरीलाई बचाउन नसकिएको पीडा पनि उनले सुनाइन् । पछि एउरेलीटारमा स्कुल खुलेपछि छोरालाई पनि पठाइन्, त्यहीँ कान्छी छोरीले भर्ना हुने मौका पाइन् ।
अहिले स्कुल पुग्न घरदेखि बढीमा पौने घण्टा हिँड्नुपर्छ । ‘स्कुल टाढा पनि भयो । घरमा काम गर्नुपर्ने हुन्छ, गोठाला जानुपर्छ । त्यसैले स्कुल भर्ना गरे पनि छोराछोरीले धेरै पढेनन्,’ बिमायाले भनिन् । साबिकको लोथर गाविसमा पर्ने राप्ती नगरपालिकाको १२ र १३ नम्बर वडा जिल्लाकै विकट पहाडी क्षेत्र हो । जहाँ अधिकांश बासिन्दा अल्पसंख्यक चेपाङ छन् भने तामाङको बसोबास पनि रहेको छ ।
निशा भने दिदीहरूको बिहे भएपछि आफू स्कुल जान छाडेको बताउँछिन् । ‘दाइ पनि विदेश गयो । दिदीको बिहे भएपछि त गाईबाख्रा मैले नै हेर्नुपर्ने भयो,’ उनको बाध्यता छ, ‘पढ्ने रहर नभएको होइन तर काम गर्नुपर्ने भएपछि स्कुल जान भ्याइएन ।’ लोथर खोलाले बनाएको सानो टारमा उनको घर छ । त्यसैले थोरै भए पनि धान रोप्ने खेत र केही गाईगोरु र बाख्रा गोठमा छन् ।
पहाडी क्षेत्रका अन्य बासिन्दाको तुलनामा निशाका बाबुआमाको आर्थिक अवस्था केही हदसम्म राम्रै देखिन्छ । तर गाउँको आडैमा कक्षा १० सम्म पढाइ हुने विद्यालय सञ्चालनमा आए पनि उनका अधिकांश सन्तान स्कुल जानै पाएनन् । गएका दुई सन्तानले पनि पढाइलाई बिट मारे । राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा शैक्षिक अवस्था निकै कमजोर देखिएको छ । नगरपालिकाले गत वर्ष गरेको घरधुरी सर्वेक्षणमा वडा नम्बर १३ को कुल ३ हजार ३०३ जनसंख्यामध्ये एमफिल वा स्नातकोत्तर तह उत्तीर्ण गर्ने एकजना पनि छैनन् । स्नातक उत्तीर्ण गर्ने ६ जना छन् भने माध्यमिक तह पार गरेका ६७ जनामात्रै भेटिएको नगरप्रोफाइलमा विवरणमा उल्लेख छ । एक तिहाइ अर्थात् एक हजार ३७ जना निरक्षर नै छन् ।

वाग्मती प्रदेश

असुरक्षित टेन्टबाटै सुरक्षा

सानो टेन्टभित्र ६ जना प्रहरी सुत्छन्, उच्छृंखल र आपराधिक कार्यमा संलग्न व्यक्तिलाई राख्ने स्थानसमेत अभाव छ
- प्रताप विष्ट
थाहा नगरपालिका—४ सिमभन्ज्याङस्थित प्रहरी बस्ने टेन्ट । भूकम्पले भवनमा क्षति पुर्‍याएको थियो । तस्बिर ः प्रताप/कान्तिपुर

(हेटौंडा) - माघको ठिही । पानी चुहिएर रातभर सुत्न सकिन्न । हतियारजति सबै प्लास्टिकले बेरेर पानीबाट जोगाउनुपर्छ । मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित प्रहरी चौकीका प्रहरीले यस्तो कष्टकर हिउँद भोगेको पाँच वर्ष पुग्यो । ०७२ वैशाखको भूकम्पले चौकी ध्वस्त भएपछि उनीहरू टेन्टमुनि बस्दै आएका छन् । घाम–पानीले टेन्ट ठाउँठाउँमा च्यातिएको छ । भात पकाउने भान्साघर अस्तव्यस्त छ । ‘बिहीबार रातिदेखि पानी परेकाले चुहिएर सुत्न सकिएन, शुक्रबार त भान्साघरमा भात पकाउने अवस्थै रहेन,’ प्रहरी हवल्दार सुमन ढकालले भने । नागरिकलाई सुरक्षा प्रदान गर्ने आफूहरू नै यो अवस्थामा असुरक्षित रहनुपरेको उनको भनाइ छ ।
‘राति उच्छृंखल र आपराधिक कार्यमा संलग्न भएका व्यक्तिलाई पक्राउ गरेर ल्याएर राख्ने स्थान छैन,’ हवल्दार ढकालले भने, ‘टेन्टमुनि कोचाकोच गरेर सुत्ने गरेका छौं, थुनुवालाई राख्ने ठाउँ नै छैन ।’ चौकीमा टेन्ट सानो खालको छ । त्यसमा ६ जना प्रहरी सुत्ने गरेका छन् । बकैया गाउँपालिकामा पर्ने ठिंगानस्थित इलाका प्रहरी कार्यालय हाल साबिकको गाविस भवनको एउटा कोठामा छ । साँघुरो कोठामा प्रहरीहरू कोचिएर बस्ने गरेका छन् ।
यसैगरी भार्ता, कान्द्राङ, फाखेल, भोर्लेनी र डाँडाखर्कस्थित प्रहरी चौकी घरभाडामा लिएर राखिएको छ । त्यहाँका प्रहरीको बसाइ पनि उस्तै कष्टकर छ । मकवानपुरस्थित चित्लाङ प्रहरी चौकी भवन थाहा नगरपालिका–९ स्थित पुरानो ऐतिहासिक पाटीमा राखिएको छ । भौतिक पूर्वाधारको अभावमा प्रहरी जवानदेखि अधिकृतसम्म पाटीमा कोचिन बाध्य भएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए ।
जग्गा खोज्दै नगरपालिका
वागमती प्रदेश सरकारले मकवानपुरमा सात वटा प्रहरी चौकी भवनका लागि बजेट विनियोजन गरेको छ । त्यसमध्ये केही निर्माणाधीन अवस्थामा छन् । भौतिक पूर्वाधार र जनशक्ति पूर्ति गर्न विभागमा माग गरेर पठाएको प्रहरी उपरीक्षक राठौरले बताए । जिल्ला प्रहरी कार्यालय मातहत मकवानपुरमा ६ सय ६९ जना प्रहरी छन् । एउटा प्रहरीले ६ सय ५५ जनालाई सुरक्षा प्रदान गर्नुपर्ने अवस्था छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका १७ वटा प्रहरी चौकीका भवन भूकम्पले क्षतिग्रस्त बनाएको थियो । त्यसमध्ये ६ वटा चौकी पूर्ण क्षतिग्रस्त बनेका थिए भने ११ वटा चौकीमा आशिंक क्षति पुगेको थियो । वैशाख २९ गतेको पराकम्पले प्रहरी चौकी चौघडा र सिमभन्ज्याङमा पनि क्षति पुग्यो ।
प्रहरी चौकी चौघडालगायत ६ वटाको पुनर्निर्माण भइसकेको छ । तर सिमभन्ज्याङ चौकीको पुनर्निर्माणमा जग्गा अभावले कठिनाइ भएको छ । चौकी निर्माण गर्न प्रहरी कार्यालयको नाममा जग्गाको स्वामित्व हुनुपर्छ । सिभन्ज्याङ क्षेत्र सबै ऐलानी हो । थाहा नगरपालिकाले उक्त क्षेत्रमा प्रहरी चौकी निर्माण गर्न नम्बरी जग्गा खोजिरहेको जनाएको छ । ‘चौकी सिमभन्ज्याङमा आवश्यक छ,’ थाहा नगरपालिकाका मेयर लवशेर विष्टले भने, ‘भवन निर्माणका लागि जग्गाको खोजी गरिरहेका छौं ।’

Page 5
उपत्यका

पोखरी मासेर कतै भवन, कतै मैदान

- दामोदर न्यौपाने
पाँच रोपनीमा फैलिएको प्रयाग पोखरीमाथि बनेको भवन । ललितपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय रहेको यो भवनमा समितिले १० भन्दा बढी सटर भाडामा लगाएको छ ।तस्बिर ः कान्तिपुर

(काठमाडौं) - उपत्यकाका ‘तीन सहर’मा ११८ पोखरी छन् । काठमाडौंमा २७, भक्तपुरमा ४० र ललितपुरमा ५१ । तीमध्ये २५ पोखरीमा भवन बनेका छन् । १६ पोखरी मैदान भएका छन् । ९ पोखरी सुक्खा छन् । एउटामा मन्दिर बनेको छ । धेरै पोखरी जीर्ण र सुक्खा छन् । केही मात्र ठीक अवस्थामा छन् । मासिएका कतिपय पोखरी पुनःस्थापित गर्न स्थानीय बासिन्दा जुर्मुराएका छन् ।
पोखरी मासेर भौतिक संरचना बनाउन लागेपछि दुइटाको विवाद सर्वोच्च अदालतमा पुगेको छ । ललितपुर, थेचोको पिन पोखरीको केही भाग मासेर वृद्धाश्रम बनाउन लागिएको छ । प्रदेश सरकार र गोदावरी नगरपालिकाको बजेटमा स्थानीय उपभोक्ता समितिले निर्माणको काम अघि बढाएको हो । स्थानीयले भने निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । हाल मुद्दा र भवन निर्माण सँगसँगै चलिरहेका छन् ।
काठमाडौं, ठमेलस्थित सिंहसार्थबाहु गुठीको पोखरीमा पाँच अर्ब रुपैयाँमा १५ तले व्यापारिक भवन छाया सेन्टर ठडिएको छ । पोखरीलाई राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेर र तिनका सन्ततिले जबर्जस्ती हडपेको भन्दै स्थानीय बासिन्दाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । छाया सेन्टरले भने त्यो पोखरी निजी भएको दाबी गर्दै आएको छ । सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले भने, ‘पहिले यो पोखरी नै हो तर केशरशमशेरले नौका विहार गर्ने पोखरी ।’ स्थानीय बासिन्दा छाया सेन्टर भत्काएर पोखरी कायम गर्न माग गर्दै आन्दोलनमा छन् । उनीहरूले सोमवार पत्रकार सम्मेलन गरी सरकारले नभत्काए छाया सेन्टर आफैं भत्काउने चेतावनीसमेत दिए ।
ललितपुर, लगनखेलको सप्तपाताल पोखरी पुरानै अवस्थामा फर्काउन सर्वोच्च अदालतले गत असार २३ गते आदेश दिएपछि पोखरी पुनःस्थापना अभियानमा लागेकाहरू उत्साहित भएका छन् । नमुना मच्छिन्द्र स्कुलले पोखरी हडपेर भवन बनाउन थालेपछि २०६१ सालयता अदालतमा पटकपटक रिट दायर भएका थिए । अदालतले हरेकपटक पोखरीको पक्षमा फैसला गरे पनि कार्यान्वयन भएको थिएन । पछिल्लोपटक निर्माणाधीन भवन, टहरासहितका संरचना हटाएर पोखरीलाई पुरानै अवस्थामा फर्काउन सर्वोच्चले आदेश दिएपछि भवन बनाउने प्रक्रिया रोकिएको छ । पोखरी जोगाउन १५ वर्ष कानुनी लडाइँ लडेका पूर्ण स्थापितले भने, ‘मुद्दा छाड्न धेरैले दबाब दिए । धेरैले धम्की दिए तर हामीले छाडेनौं ।’
विवाद लिएर अदालत नपुगे पनि मध्यपुर थिमीको प्राचीन पोखरी ‘वंगा पुखु’ पुनःस्थापना गर्न स्थानीय जनता अघि सरेका देखिन्छन् । सो पोखरीमाथि २०३२ सालमै तत्कालीन गाउँ पञ्चायतले आफ्नो भवन बनाएको थियो । त्यसैलाई भत्काएर हालसालै मध्यपुर थिमी नगरपलिकाले करिब तीन करोड रुपैयाँमा ६ नम्बर वडा कार्यालय भवन बनाउन लागेपछि स्थानीय बासिन्दा विरोधमा उत्रेका छन् । वडाध्यक्ष इन्द्रबहादुर प्रजापति भने भवन बनाउन दृढ देखिन्छन् । ‘वडा भवनको पहिचानै पोखरीमाथिको भवन भन्ने हो,’ उनले भने, ‘भवनको यो पहिचान जोगाउनुपर्छ । विरोध दुई–चार जना काम नपाएकाले गरेका हुन् । धेरैको माग भवन बनाउनुपर्छ भन्ने नै छ ।’
काठमाडौंमा भीमसेन थापाले खनेको नागपोखरीमा अहिले सिभिल मल खडा भएको छ । नक्सालको सिन्धुवाल पोखरीमा प्रहरी कार्यालय बसेको छ । टेकुमा बमवीर विकटेश्वर गुठीको नाममा रहेको पोखरीमा गगनचुम्बी भवन बनेका छन् ।
ललितपुर, पुल्चोकको एउटै परिसरमा ३२ रोपनीमा फैलिएका चारवटा पलेस्वाँ (कमल) पोखरी मध्ये एउटामा ललितपुर महानगरपालिकाको भवन ठडिएको छ । अर्कोमा त्रिपद्म मावि भवन बनाइएको छ भने तेस्रो पोखरीमा महानगरपालिकाले गत साउनदेखि पार्किङ सञ्चालन गर्न ठेक्का दिएको छ । पुल्चोककै नाग गाः पुखु (पोखरी) मा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र भवन रहेको छ । नः टोलको पोखरीमा मदन स्मारक विद्यालय बनेको छ । हिटी गाः पोखरीमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कार्यालय छ । मचागाः पोखरीमा भवन बनेको छ । पाटनढोकाको लिगा पोखरीमा शौचालय बनेको छ । लगनखेलको लखन पोखरीमा प्रहरी कार्यालय छ । सप्तपातालमा नमुना मच्छिन्द्र स्कुल बनेको छ ।
१६ रोपनीमा फैलिएको कुमारीपाटीको तः पुखु (पोखरी) मा व्यक्तिगत भवन ठडिएका छन् । ०४६ सालसम्म पुरानै स्वरूपमा रहेको यो पोखरी अहिले चार आना पनि बाँकी छैन । पाँच रोपनीमा फैलिएको प्रयाग पोखरीमा ललितपुर जिल्ला खेलकुद विकास समितिको भवन रहेको छ । समितिले १० वटाभन्दा बढी सटर भाडामा लगाएको छ । ‘नगरपालिकालगायत निकायले त पोखरीजस्ता ऐतिहासिक सम्पदा जोगाउने पो हो, तिनैले आफ्ना कार्यालय पोखरीमा बनाएका छन्,’ स्थानीय भन्छन्, ‘पहिला गरेका गल्ती सच्याऊ भन्दा उल्टै हामीमाथि अनेक आरोप लगाइन्छ ।’ पुरातत्व विभागले भने सम्पदा संरक्षणको जिम्मेवारी स्थानीय सरकारले पनि लिनुपर्ने बताएको छ । ‘हामीले देख्ने ठाउँमा त हामी संरक्षण गर्छौ । मासिन लागेको रहेछ भनेर जोगाउँछौं,’ पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भने, ‘दूरदराजमा त विभाग पुग्न सक्दैन । त्यहाँको संरक्षण गर्ने जिम्मा स्थानीय सरकारकै हो । संविधानले पनि सम्पदा जोगाउने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ ।’
सहर सभ्यताको अंग
पानी विज्ञ पीएस जोशीका अनुसार उपत्यकाका पोखरी रणनीतिक दृष्टिले बस्तीको सिरानमा, बीचमा र पुछारमा तीन किसिमले बनाइएका हुन् । सिरानका पोखरी बर्सातको भेल बस्तीमा नपसोस् भनेर खनिएका हुन् । लैनचौरको पोखरी, रानीपोखरी, लगनखेलको पोखरी, पुल्चोकको पोखरी, कमलपोखरी सिँचाइका लागि पनि बनाइएका हुन् । यिनले बस्तीमा बनाइएका इनार पनि रिचार्ज गर्थे । बस्तीबीचका पोखरीचाहिँ साना हुन्थे । तिनमा आकाशबाट बर्सिएको र नालीबाट आएको पानी जम्मा हुन्थ्यो । यस्ता पोखरीमा हाँस पालिन्थे, भैंसी आहाल बसाइन्थे । तल्लो क्षेत्रका पोखरी भने ओरालो लाग्ने ठाउँमा बनाइएका हुन्थे । जोशीले भने, ‘नेवार बस्ती झुरुप्प परेका हुन्छन् । सबै नेवार बस्तीमा यस्तै रणनीतिक पोखरी थिए ।’
पोखरी निर्माण भएपछि यसलाई जीवनशैलीसँग जोड्दै लगिएको इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । ‘कोही मर्दापर्दा पिण्डदान गर्न पोखरीमै गइन्छ । देवाली मनाउन सहरै खाली गरेर पोखरीमा आइन्छ,’ उनी भन्छन्, ‘पोखरी सहर सभ्यताका अंग हुन्, यिनलाई जोगाउनुपर्छ ।’

भवन बनेका पोखरी
काठमाडौं
१. लाजिम्पाट पोखरी
२. टुकु पोखरी
३. सोह्रखुट्टे पोखरी
४. नागपोखरी, बागदरबार
५. पाको पोखरी, नयाँ सडक
ललितपुर
१. फलेस्वाँ पोखरी– महानगरपालिका भवन
२. छ्याबहाल पोखरी
३. जावलाखेल पोखरी
४. भैला पोखरी
५. मच्छिन्द्रबहाल पोखरी
६. बालकुमारी पोखरी पश्चिम– गुठी भवन
७. पोडे पोखरी
८. हिटीगा पोखरी– केयूकेएल भवन

मैदान बनेका पोखरी
काठमाडौं
१. हाँडीगाउँ पोखरी ‘क’
२. हाँडीगाउँ पोखरी ‘ख’
३. चारुमती पोखरी, चाबहिल
४. पचली भैरव पोखरी, टेकु
५. केटीहिटीमानिका पोखरी, कालिमाटी
६. भुइँखेल पोखरी, स्वयम्भू
७. हरिभवन पोखरी, सुन्धारा
८. खिचापोखरी, नयाँसडक
९. लैनचौर पोखरी
ललितपुर
१. गुह्य पोखरी
२. सुवहाल पोखरी
३. नागपोखरी
४. खाः पोखरी
५. उ वहा पोखरी
६. हनुमानस्थान पोखरी
७. द्यो पोखरी
८. इखा पोखरी

अतिक्रमित, सुक्खा र ढलान गरिएका
काठमाडौं
१. गहना पोखरी, हाँडीगाउँ– ढलान
२. बौद्ध पोखरी– ढलान
३. कुबहाल लामपोखरी, चाबहिल–ढलान/सुक्खा
४. बहटी पोखरी, सोह्रखुट्टे– अतिक्रमित
५. भण्डारखाल पोखरी, हनुमानढोका– सुक्खा
६. इखापोखरी, न्योखा– सुक्खा
ललितपुर
१. तब पोखरी– अतिक्रमित
२. लाखुसी पोखरी– ढलान/सुक्खा
३. बालकुमारी पूर्व– अतिक्रमित
४. बालकुमारी उत्तर– सुक्खा
५. चिंधपोखरी– सुक्खा
६. खपिंछे पोखरी– ढलान
७. कमलपोखरी– अतिक्रमित
८. पूर्णचण्डी पोखरी– सुक्खा
९. ख्वालया पोखरी– सुक्खा
१०. कुम्भेश्वर पोखरी– सुक्खा
भक्तपुर
१. दुईमाजु पोखरी– धाप

विद्यालय बनेका पोखरी
ललितपुर
१. ल ः पोखरी– मदन स्मारक स्कुल
२. मदन स्मारक पोखरी
३. दुरुपोखरी
४. पाटनढोका पोखरी
५. लाखे पोखरी
६. भाज पोखरी
७. ख्वायबही पोखरी
भक्तपुर
१. अष्टांग भैरव पोखरी, तौंलाछें
२. भुलुखेल पोखरी

प्रहरी कार्यालय रहेका
सिन्धुवाल पोखरी, नक्साल
लगनखेल पोखरी

सार्वजनिक स्थल बनेका
लिगं पोखरी (ललितपुर)– सार्वजनिक शौचालय
नागपोखरी (ललितपुर)– मन्दिर

उपत्यका

ल क्याम्पसमा पढाइ अनिश्चित

- कान्तिपुर संवाददाता

(काठमाडौं) - त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसमा विद्यार्थी कोटा निर्धारणको विवादका कारण एलएलबी तहको शैक्षिक कार्यक्रम रोकिएको छ । त्रिभुवन विश्वविद्यालय, डिन कार्यालय र क्याम्पस पदाधिकारी कोटा प्रणाली लागू गर्नुपर्ने पक्षमा र विद्यार्थीहरू त्यसको विपक्षमा लाग्दा शैक्षिक कार्यक्रम रोकिएको हो । क्याम्पसमा वैशाखमा हुनुपर्ने पहिलो वर्षको भर्ना हालसम्म पनि भएको छैन । त्यसका साथै दुवै पक्षबीच जारी विवाद चर्कंदै गएपछि आगामी शैक्षिकसत्रको कार्यक्रम पनि अनिश्चित बनेको छ । कोटा कायम गर्ने सर्वोच्च अदालतको आदेश र विश्वविद्यालयको निर्देशनका कारण त्यसविपरित विद्यार्थी भर्ना गराएर पठनपाठन गराउन नसकेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रमुख दीनानाथ पराजुलीले अदालत र विश्वविद्यालयको निर्णयअनुसार ३ सयको कोटा तोकिएको बताए ।
‘विद्यार्थी पहिलेजस्तै असीमित संख्यामा भर्ना गराऊ भन्छन्, अदालत र विश्वविद्यालयले कोटा तोकिदिएका छन्,’ उनले भने, ‘त्यही चेपुवामा परेर यसपालि भर्ना गराउन सकिएन, अर्कोपालि पनि के हुन्छ थाहा छैन ।’
धेरै विद्यार्थी हुँदा बेथिति बढ्ने र पढाइको गुणस्तर पनि नहुने गरेको उनले जनाए । भर्ना भएकामध्ये करिब ३ सय विद्यार्थी मात्रै नियमित कक्षामा आउने गरेको क्याम्पसले जनाएको छ । यो वर्ष पनि ३ हजार विद्यार्थीले प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । क्याम्पसले १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि स्नातक तहमा पाँच वर्षे बीएएलएलबी र अन्य संकायबाट स्नातक उत्तीर्ण गरेका तीनवर्षे एलएलबीको पढाइ सञ्चालन गर्दै आएको छ ।
एलएलबीको भर्ना विवादबारे विश्वविद्यालय पदाधिकारी र सरोकारवाला पक्षसँग छलफल चलिरहेको डिन विजयसिंह सिजापतिले जनाए । ‘निर्णय कसरी कार्न्यान्वयन गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने ।
विद्यार्थीले भने पूर्वाधार हुँदाहुँदै सिट संख्या संकुचित पार्न खोजिएको आरोप लगाउँदै आएका छन् । आंगिक क्याम्पसमा सीमित सिट गरी निजी कलेजलाई सम्बन्धन बाँड्ने पूर्वतयारी भइरहेको ल क्याम्पसका विद्यार्थी दीपक थापाले दाबी गरे ।
डिन कार्यालयले अघिल्लो शैक्षिकसत्रमा ५ सय जनाको सिट संख्या कायम गरेर क्याम्पसलाई परिपत्र गरेको थियो । विद्यार्थीले विरोध जनाए । त्यसपछि सिट संख्या बनाएर ६ सय र ८ सय बनाइयो । डिन कार्यालयको यस्ता खाले थरीथरी निर्णयमा विद्यार्थीले आशंका गरेका छन् । ‘२०७५ सम्म प्रत्येक शैक्षिकसत्रमा ३ हजारभन्दा बढी विद्यार्थी पास आउट हुँदै आएका छन्,’ थापाले भने, ‘अहिले आएर कसरी क्षमता घट्यो ?’
कहिले ८ सय, कहिले ३ सय सिट क्षमता तोक्ने त्रिवि पदाधिकारीको निर्णय आशंकापूर्ण रहेको विद्यार्थीहरूको तर्क गर्छन् । एलएलबीमा अधिकांश अन्य पेसा व्यवसायमा संलग्न व्यक्तिहरू भर्ना भएर स्वअध्ययन गर्दै परीक्षामा सहभागी हुने गरेका छन् । विद्यार्थीले पनि असीमित विद्यार्थी भर्ना गर्नुभन्दा मापदण्ड तोकेर निश्चित विद्यार्थी भर्ना गर्नुपर्ने बताएका छन् । ‘३ हजार विद्यार्थी पढाउँदै आएको क्याम्पसले एक्कासि सिट घटाएर ३ सयमा झार्दा आश्चर्यमा परेका छौं,’ उनले भने, ‘विद्यार्थी संख्या कम भएका आंगिक क्याम्पसमा एलएलबीको पढाइ थालेर मात्र ल क्याम्पसमा कोटा लागू गर्नुपर्ने हाम्रो माग हो ।’
विश्वविद्यालय र विद्यार्थीको सिट संख्या कायम गर्ने/नगर्ने विवाद बल्झेपछि सर्वोच्च अदालतले गत जेठमा प्रवेश परीक्षा लिई क्षमताअनुसार पूर्णकालीन विद्यार्थी मात्र पढाउन आदेश दिएको थियो । त्रिवि कार्यकारी परिषद्, डिन कार्यालयको निर्देशन र अदालतको आदेश देखाएर क्याम्पसले ३ सय सिट क्षमता तोकेपछि विद्यार्थीले डिन कार्यालय तथा क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै आएका छन् । तालाबन्दीका कारण परीक्षाको तयारी गर्नुपर्ने बेलासम्म पहिलो वर्षको भर्नासमेत हुन सकेको छैन । प्रवेश परीक्षामा फाराम भरेका विद्यार्थीसमेत अन्योलमा छन् । एलएलबी अन्य विषयमा स्नातक पढ्ने स्नातक तह सो सरहको विषय भएकाले बन्देज र कडाइ गर्नुपर्ने कारण नभएको उनीहरूको भनाइ छ । गत शैक्षिकसत्रमा पनि क्याम्पसले निश्चित कोटामा विद्यार्थी भर्ना लिने प्रक्रिया अघि बढाएको थियो । तर विद्यार्थीको चर्को विरोधपछि १० हजार ८ सयलाई भर्ना लिइयो ।

 

उपत्यका

विभागभित्र व्यवसायीको हालीमुहाली

- कान्तिपुर संवाददाता
औषधि व्यवस्था विभाग परिसरभित्र औषधि व्यवसायी बस्ने कोठा ।तस्बिर ः कान्तिपुर

(काठमाडौं) - औषधि व्यवस्था विभागको मुलगेट छिर्नेबित्तिकै विभागका कर्मचारीभन्दा पहिले औषधि व्यवसायीसँग सेवाग्राहीको भेट हुन्छ । सेवाग्राहीलाई सघाउने भन्दै संस्थाको बोर्ड नै राखेर व्यवसायी बसिरहेका हुन्छन् । उनीहरूलाई छुट्टै कोठाको व्यवस्था पनि छ । विभाग परिसरमा कर्मचारीभन्दा व्यवसायीका गाडी बढी देखिन्छन् । झट्ट हेर्दा व्यवसायीले सेवाग्राहीलाई औषधि पसल दर्ता र नवीकरण गर्ने फाराम भर्न सघाइरहेको देखिए पनि त्यहाँ व्यवसायीलाई भेटघाट गर्नेको घुइँचो बढी देखिन्छ । व्यवसायी बसिरहेको त्यो कोठाबाट पहिले दर्ताचलानीको काम हुन्थ्यो । सरकारी कामकाज गर्दा सबैभन्दा पहिले गरिने दर्ता चलानीका आवश्यक कोठा भने विभागले भवनपछाडिको कुनामा राखेको छ । यी औषधि व्यवसायी औषधि बिक्रीका लागि तालिमप्राप्त दक्ष जनशक्ति होइनन्, उनीहरूले तीन महिनाको मात्र तालिम लिएका छन् । विभागले यस्ता व्यवसायीलाई दर्ता पनि गर्दैन । अब यस्ता जनशक्ति उत्पादन हुन छाडिसके । तर, पहिलेदेखि नै विभागमा हाबी हुन थालेका यस्ता व्यवसायी त्यहाँबाट हट्न मानेका छैनन् ।
औषधि व्यवसायीलाई नियमन गर्ने सरकारी निकायको सम्पत्ति व्यवसायीलाई प्रयोग गर्न दिएको भन्दै फार्मास्टिहरू (औषधिसम्बन्धी पढेका दक्ष जनशक्ति) ले एक साताअगाडि विरोध पनि गरे । बोर्ड निकालेर फालिदिए । ‘व्यवसायीको नियमन गर्न गठन भएको विभागले व्यसायीलाई नै विभागभित्र कार्यालय दिएर राख्नु औषधि ऐनविपरीत छ, सेवाग्राहीलाई सहायता गर्न राज्यले जनशक्ति दिएको छैन र ?’ एक फार्मासिस्टले प्रश्न गरे । व्यवसायीलाई यसरी कार्यालयभित्रै राख्दा विभागको गोपनीयता भंग हुन सक्ने फार्मासिस्टहरूको भनाइ छ ।
विभागबाट दैनिक औषधि पसलको अनुगमन गर्न कर्मचारीको टोली निस्कन्छ । ‘संस्थाभित्र बसिरहेका व्यवसायीले भने निरीक्षणबारे थाहा पाइरहेका हुन्छन्,’ स्रोतले भने, ‘ती व्यवसायीले सुरुमै औषधि पसललाई जानकारी गराइदिन्छन्, टोली पुग्दासम्म औषधि पसलका सटर बन्द भइसकेका हुन्छन् ।’
लिखित सम्झौतामै स्वयंसेवकका रूपमा व्यवसायीलाई त्यहाँ राखिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । ‘औषधि दर्ता गर्न आउने सेवाग्राहीलाई फाराम भर्न समस्या भइरहेको हुन्छ, बाहिरबाट फाराम भर्ने सहयोगी खोज्दा शुल्क तिर्नुपर्ने सेवाग्राहीको आयो,’ उनले भने, ‘उनीहरूलाई सघाउने जनशक्ति हामीसँग छैन । व्यवसायीले निःशुल्क सेवा गर्ने भनेपछि हामीले उनीहरूलाई राखेका हौं ।’ विभागका पूर्व निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीको नेतृत्व हुँदा व्यवसायीलाई विभागभित्र राखिएको हो । ‘व्यवसायीले विभागमाथि आफ्नो प्रभुत्व जमाउँदै आएको पुरानो समस्या हो । हाकिमसँग साँठगाँठ बढाउने उद्देश्यले व्यवसायी सहयोगी बनेर विभाग छिरेका हुन्,’ विभाग स्रोतले भन्यो, ‘सरकारी कार्यालयभित्र गैरसरकारी संस्थाको कार्यालय राख्न कसरी मिल्छ ?’
निजी संस्थाका व्यक्ति र व्यवसायीलाई सरकारी कार्यालयभित्र कोठा दिएर राख्न नहुने विभागका महानिर्देशक नारायणप्रसाद ढकाल बताउँछन् । ‘मैले विभागको जिम्मेवारी लिएको केही दिनमात्रै भयो,’ उनले भने, ‘पुरानो नेतृत्वबाट व्यवसायी राख्ने काम भएको रहेछ, सल्लाह गरेर हटाउँछु ।’ व्यवसायीलाई विभागभित्र कोठै दिएर राख्ने लिखित सम्झौताको कागजातबारे आफूलाई केही पत्तो नभएको उनको भनाइ छ । ‘दिनभर निःशुल्क सेवा दिन तयार हुनुको पछाडि कुनै नियत त होला,’ महानिर्देशक ढकालले भने ।

Page 6
विविधा

विज्ञानको सहज सिकाइ

- मधु राई

 

‘रातो बत्ती भन्छ– रोक्, रोक्, रोक्
पहेंँलो बत्ती भन्छ– पर्ख, पर्ख, पर्ख
हरियो बत्ती भन्छ– जाऊ, तिमी जाऊ ।’
युकेजीका विद्यार्थीलाई सडक बत्तीबारे पढाउँदा म पहिले नेपालीमा अभिनय गर्दै उक्त गीत गाउन सिकाउँछु । यसरी गीत गाउन सिकेपछि बल्ल अंग्रेजी शब्द राखी उही लयमा गीत गाउन सिकाउँछु । यस्तो अभ्यासले उनीहरूले सहजै शब्द उच्चारण गर्न सिक्छन् भने विषय–वस्तु बुझाउन पनि सहज हुन्छ । यसरी सिकाउँदा विद्यार्थी थप सिक्न उत्साहित हुन्छन्, शिक्षण सिकाइ प्रभावकारी र जीवन्त हुन्छ ।
पूर्व प्राविका विद्यार्थीलाई यसै पनि अंग्रेजी भाषाका नयाँ–नयाँ शब्द सिकाउन र त्यसको अर्थ बुझाउन गाह्रो हुन्छ । विज्ञान शिक्षकले विद्यार्थीको उमेर र रुचिलाई ध्यानमा राखी यस्तो शिक्षणविधि अपनाउने हो भने विज्ञानप्रति उनीहरूको सिक्ने अभिरुचि बढ्दै जान्छ । माथिल्ला कक्षामा पनि शिक्षकहरूले माथिको विधि अपनाई शिक्षण सिकाइ गर्ने हो भने विद्यार्थीमा घोकेर होइन, बुझेर पढ्ने बानीको विकास गराउन सकिन्छ ।
विज्ञान सिकाइलाई प्रभावकारी, रमाइलो र जीवन्त बनाउने अभिभारा शिक्षककै हो । तर अपसोच, बहुसंख्यक शिक्षकलाई शिक्षण सिकाइ प्रभावकारी र जीवन्त बनाउनेभन्दा पनि ‘कोर्स’ सक्नै हतारो हुन्छ, उनीहरू व्यावहारिक कक्षाबारे कल्पनै गर्दैनन् । विज्ञान विषयको सैद्धान्तिक ज्ञान, व्यावहारिक ज्ञानबिना अपुरो र अधुरो नै हुन्छ ।
विज्ञानका अधिकांश शिक्षकले आफ्ना शिक्षकबाट जसरी हतारोमा सिके, त्यसरी नै विद्यार्थीलाई हतारोमै ‘कोर्स’ पूरा गराउन सैद्धान्तिक शिक्षामात्रै बाँडिरहेका छन् । यस्ता शिक्षकले विद्यार्थीमा आफूले पाएको सूचना र जानकारीमात्र हस्तानान्तरण गरिरहेको अनुसन्धानले देखाएको छ । हिजो आफू विद्यार्थी छँदा किन र केका लागि विज्ञान पढेँ भन्ने आधारभूत कुरा थाहा नपाएका यस्ता शिक्षकले आज आफ्ना विद्यार्थीले किन विज्ञान पढ्ने भन्नेबारे बुझाउन सकेको देखिँंदैन । यसैकारण विज्ञान विषय बहुुसंख्यक विद्यार्थीका लागि हाउगुजी बनेको छ ।
विज्ञान विषयलाई हाउगुजी बनाउने पहिलो काम शिक्षकले गर्दै आएका छन् । आफूले पाएको ज्ञानलाई जीवन र जगतसँग जोड्न बिर्सेका कतिपय शिक्षकले आफ्नो विषयभन्दा फरक र भिन्न विषय र कार्यक्रमहरूमा बढी ऊर्जा र समय खर्चने गरेको देखिन्छ । यसमा विज्ञान मात्र होइन, फरक विषय लिएर उच्चशिक्षा हासिल गरेका प्रधानाध्यापक र प्राचार्य लगायत व्यवस्थापन पक्ष पनि दोषी छन् । विज्ञान विषय पढाउने शिक्षकलाई जीवन्त र प्रभावकारी शिक्षण सिकाइका लागि विद्यालय व्यवस्थापनले सोही अनुरुपको शैक्षिक सामग्री जुटाइदिनुपर्ने हुन्छ, विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान दिनका लागि । जस्तो—वनस्पतिबारे पढाउँदा विद्याथीलाई बोटबिरुवा देखाउँदै, छुवाउँदै पढाउनुपर्ने हुन्छ । वनस्पति विज्ञान पूर्वप्रावि तथा प्रावि तहमा पढ्ने विद्यार्थीका लागि बोटबिरुवा सबैभन्दा उत्कृष्ट र जीवन्त शैक्षिक सामग्री हुन् । यसो गर्नाले बोटबिरुवाको जीवनचक्रबारे बुझ्न र बुझाउन उनीहरूलाई थप मद्दत पुग्छ । विद्यालय परिसरमा भएको बगैंचा वा करेसाबारी अवलोकन गर्दै विउबाट कसरी बिरुवा निस्कन्छ भन्ने थाहा पाउँदा विद्यार्थी पक्कै उत्साहित हुन्छन् । उनीहरू स्वयम्लाई विउ रोप्न लगाई बिरुवा स्याहार्ने परियोजना काम दिने हो भने उनीहरूमा बोटबिरुवाप्रतिको कौतुहल बढ्दै जान्छ । आफैले विउ रोपी उम्रेका बिरुवा ठूलो भएर त्यसमा तरकारी र फलफूलको चिचिला लागेको देख्दाको क्षण विद्यार्थीका लागि पक्कै पनि अविस्मरणीय र रमाइलो हुन्छ ।
विज्ञानलाई विकसित मुलुकहरूले विकास र समृद्धिको मुख्य आधार बनाउँदै आएको वर्षौं बितिसक्दा पनि हामीकहाँ सैद्धान्तिक शिक्षाको निष्क्रिय शिक्षण सिकाइले न त शिक्षकलाई अध्ययन–अनुसन्धान गर्न प्रेरित गर्‍यो, न विद्यार्थीमा विज्ञान विषयले कौतुहलता नै जगाउन सक्यो । आफ्ना विद्यार्थीलाई वैज्ञानिक बन्नुपर्छ भनेर अभिप्रेरणा दिने पहिलो गुरु भनेकै शिक्षक हो । यस्ता गुरुकै अभावमा अहिले वैज्ञानिक बन्न सक्ने हाम्रा कतिपय शिक्षित युवा कोही पलायन भएका छन् भने कोही जागिरे जीवन बिताउन बाध्य छन् ।
विज्ञानलाई प्राविधिक विषय मान्नुको सट्टा मानव उद्यम र मानवीय भावनाहरूको उत्कृष्ट अभिव्यक्ति मान्नुपर्छ भन्ने भारतका आधुनिक विज्ञानका प्रोफेसर भीभी रमणको भनाइ छ । त्यसैले विज्ञानका शिक्षकहरूले पनि यस्तो दृष्टिकोण अपनाई आधुनिक विज्ञानलाई कसरी जीवन र जगतसँग जोड्न सकिन्छ भनी चिन्तन गर्नुपर्छ ।

विविधा

असामान्य समय

- लोकरञ्जन पराजुली

अहिले संसारभर जे भइरहेको छ, अचम्म भइरहेको छ । यी घटनावली दिनदिनै र जताततै भएकाले हामी कतिपयलाई सामान्य नै जस्तो लाग्दो हो । तर अलि ठन्डा दिमागले, अलि निरपेक्ष भावले सोच्ने हो भने खासमा अहिले जताततै अनौठै र उल्कै भैरहेको छ । हामीले पढिआएका पुस्तक, हाम्रा संग्रहित ज्ञान, हाम्रो समाज विज्ञानले अहिले जे भैरहेको छ, त्यसलाई व्याख्या गर्न, बुझाउनसकेका छैनन् । तिनले तर्कहरूलाई धुलो चटाइदिएका छन् ।
यो आलेख अहिले हामीले जिइरहेको समय— जसलाई मैले असामान्य समय भनेको छु— बुझ्ने र अर्थ लगाउने मेरो एउटा सानो प्रयत्न हो । समय असामान्य भएका कारण सामान्य समयका सामाजिक–राजनीतिक सिद्धान्तहरूले काम गरिरहेका छैनन् । हामी सबैजसोले आफूलाई पीडित (भिक्टिम) को रूपमा देखिरहेकाले हामी रातोदिन आवेग, उत्तेजना र क्रोधमा छौं, जुन असामान्य हो । हामी उत्तेजनामा हुँदा त्यसले के गर्दो रहेछ र हाम्रो आक्रोशलाई कसरी नयाँ दुई परिस्थिति— पीसी कल्चर र (अ)सामाजिक मिडिया—ले थप मलजल गरेका छन् भनेर यो आलेखमा मैले चर्चा गरेको छु ।

किन असामान्य समय ?
हामी सिधा हिसाबले कुनै मुद्दा या विषयसँग जोडिन्छौं, हामीले निरपेक्ष हिसाबले त्यसलाई पर्गेल्ने क्षमता गुमाउँछौं । कि त भौगोलिक कि त समयको हिसाबले दूरी बनाउँदा हामीले अलि राम्ररी देख्न–बुझ्न सक्छौं र हाम्रो विश्लेषण गहन हुन्छ जस्तो मलाई लाग्छ । त्यसैले कुरा अलि टाढैको मुलुक संयुक्त राज्य अमेरिकाबाट सुरु गरौं । अमेरिकामा सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा अर्धश्वेत बाराक ओबामा विजयी भए । अमेरिका जस्तो पुरातनपन्थी–बहुल मुलुकमा उनको चयनलाई प्रगतिशीलताको विजयको रूपमा हेरियो । उनी अर्कोपटक पनि चुनिए । ओहो, साँच्चै जमाना फेरिएछ, समयले ठूलै फड्को मारेछ भनियो ।
तर उनी लगत्तै अमेरिकामा यस्तो व्यक्ति निर्वाचित भए (हुन त उनले आफ्नो प्रतिद्वन्द्वीभन्दा करिब ३० लाख कम मत पाएका हुन्) जो धेरै हिसाबले ओबामाभन्दा ठ्याक्कै विपरीत देखिन्छन् । डोनाल्ड ट्रम्पको विजयमा अन्य पक्षका अतिरिक्त ती मतदाताको ठूलै भूमिका छ, जसले पहिले ओबामालाई मत दिएका थिए र पछि ट्रम्पलाई मत दिए । ओबामालाई भोट हालेको व्यक्तिले लगत्तैको चुनावमा ट्रम्पजस्तो व्यक्तिलाई अमेरिकाको सर्वोच्च पदमा कसरी सहजै मत दिन सक्छ, प्रश्न उठ्छ ।
कुनै राम्रो र नैतिक काम गरेपछि मानिसहरूलाई अर्को नराम्रो वा अनैतिक काम गर्न मनले छुट दिने मनोवैज्ञानिक प्रक्रियालाई ‘मोरल लाइसेन्सिङ’ भनेर व्याख्या गरिएको पाइन्छ । यहाँसम्म ठिकै छ, ‘मोरल’ या ‘सेल्फ लाइसेन्सिङ’का कारण मतदाताले एउटा अनैतिक वा नराम्रो काम गरे भनेर मानौं । तर निर्वाचनपछि मात्रै सार्वजनिक भएका ट्रम्पका हर्कत र उनका झुटका फेहरिस्त (आफू निर्वाचित भएयता उनले १५ हजारभन्दा बढीपटक झुट बोलिसके) हेर्ने हो, उनलाई मत दिने जनता पछुताउनुपर्ने हो । त्यस्तो भएको छैन, अमेरिकी मूल्य–मान्यताको कुरा गरेर नथाक्ने रिपब्लिकनहरू र अझ इभान्जेलिकल क्रिस्चियनहरू एउटा नश्लवादी, महिलाद्वेषी, र झुठ र फरेबको पिण्डको समर्थन र प्रतिरक्षामा अटल उभिएका छन्, उनले जेजस्तो घिनलाग्दो हर्कत गरे पनि । त्यसैले यो वर्ष हुने निर्वाचनमा उनी पुनः विजयी भए भने त्यो अनौठो मानिने छैन ।
भर्खरै बेलायतमा भएको निर्वाचन वा छिमेकी भारतको संसदीय निर्वाचनमा पनि त्यस्तै भयो । वर्षौंदेखि लेबर पार्टीलाई मत दिएर आएकाहरू र आफूलाई अझै लेबर समर्थक भन्नेहरूले खुला रूपमा ‘हो, हामी धनीहरूको, उद्योगीहरूको हित हेर्छौं’ भन्नेहरूलाई मत दिए, लेबरलाई हराए । भारतमा हालैको लोकसभाको निर्वाचनअघि र पछि भएका विधानसभा निर्वाचनमा मतदाताले
भारतीय जनता पार्टी (भाजपा) लाई रुचाएनन् ।
तर लोकसभामा पुनः नरेन्द्र मोदी र भाजपालाई विजयको ताज पहिर्‍याइदिए, पहिलेभन्दा
ज्यादा सिटसहित ।
यो त्यही मोदी/भाजपाको सरकार हो, जसले लिएका नीतिका कारण, चाहे त्यो ‘डिमनिटाइजेसन’ होस् वा ‘जीएसटी’, सामान्य भारतीयको खल्तीमा प्वाल पर्‍यो । हामीले देख्दै, पढ्दै, बुझ्दै आएको कुरा के हो भने ‘अर्थ’ ले ठूलै अर्थ राख्छ । प्रतिस्पर्धात्मक राजनीतिमा सत्तामा भएको दलले मुलुकको आर्थिक स्थिति सुधार्दैमा त्यो दलले आउने चुनावमा राम्रै गर्छ भन्ने छैन । तर सामान्यतया जुन सरकारका पालामा जनताको जीवनस्तर खस्कन्छ, त्यो दलले आउने चुनावमा सत्ता गुमाउँछ । तर भारतमा, बेलायतमा त्यो भएन । अहिले ‘इट्स द इकोनोमी, स्टुपिड’ भन्नेहरू स्वयंलाई चुनावी नतिजाले मूर्ख देखाइरहेका छन् । मानिसहरू आफ्नो खल्तीमा लामो हात गर्ने दल/व्यक्तिलाई समेत मत दिइरहेका छन् । हिजो काश्मीरमा भाजपाले जे गर्‍यो र आज मुलुकैभरि आफ्नै नागरिकमाथि जे गर्दैछ, त्यो अकल्पनीय छ, यद्यपि त्यसलाई पनि पूर्वीय संस्कृति र मूल्य–मान्यता भन्दै ठूला कुरा गर्नेहरू जोडतोडले समर्थन गर्दैछन् । यो फगत ‘फल्स कन्ससनेस’को कुरामात्र होइन ।

आवेग र पीडितको मनोविज्ञान
किन हामीहरू सही–गलतको भेद छुट्याउन सकिरहेको छैनौं ? किन हाम्रो समाज सामूहिक अधपतनको दिशामा गइरहेको छ ? किनभने अहिले हामीहरू सबैजसो या त उत्तेजित छौं या क्रोधित । एकादुई व्यक्तिको म कुरा गरिरहेको छैन । उत्तेजित हुनु, आक्रोशित हुनु स्वाभाविक हो । हामी पहिले पनि हुन्थ्यौं, तर कहिलेकाहीँ । तर अहिले दिनैभर जस्तो आवेगमा हुन्छौं । दिमागमा आवेग, आक्रोश, प्रेम, रिस, घृणा हुँदा हामीले सोच्ने, विचार्ने, लामो दूरीमा राखेर निरपेक्ष हिसाबले हेर्ने काम कठिन हुन्छ । हामी जीवनका फगत दुई रङ कालो र सेतो देखिरहेका छौं, ती दुई बीचको ठूलो खैरो रङ छुटाइरहेका छौं ।
हामी निरन्तर आवेगमा, उत्तेजनामा किन छौं भने सबैले आफूलाई पीडित देखिरहेका छौं, अरूलाई पीडक । पहिले दमित, शोषित भनिएकाहरू अहिले धेरै हदसम्म बिउँतिएका छन् । व्यक्ति र संस्था (सिस्टम) मिलेर आफूहरूलाई दमनचक्रको घानमा पिसेको उनीहरू देखिरहेका छन् । त्यसैले हक–अधिकारका लागि उनीहरू संघर्ष गरिरहेका छन् ।
उनीहरू दुई कारणले आक्रोशित छन् । एक त दमनचक्रको सपाट तस्बिर हुँदा पनि दमनकारीहरू र ‘प्रिभिलेज्ड’ हरू यो मान्न तयार छैनन् कि उनीहरू दमन गरिरहेछन्, विशेष सुविधा पाइरहेका छन् । दोस्रो, उनीहरू आफैप्रति पनि आक्रोशित छन्, किन यतिका वर्षदेखि हामी यो सहेर आइरहेको भनेर । हामीहरू के हेरिरहेका थियौं भनेर । यसले उनीहरूलाई निरन्तर आवेगको अवस्थामा राखेको छ । उनीहरू आफू जस्तैसँग एकाकार हुन खोजिरहेका छन् । र व्यक्ति/संस्थाको दमनको प्रतिकार गर्न चाहन्छन् ।
अर्कोतर्फ दमनकारीहरू त आतंकित हुने नै भए, दमितहरूका पहिले कहिल्यै नदेखिएका, नसुनिएका समवेत स्वरहरूबाट । हिजोसम्म प्रिभिलेज्ड भएकाहरू पनि भयभित र आक्रोशित छन् । एक त विशेष सुविधा खोसिने डरले । अझ अर्को ‘आफूले नगरेको दोष’ भागी हुनपरेकाले । उनीहरूलाई लागिरहेको छ, ‘होला विगतमा केही भयो होला, दमन पनि, उत्पीडन पनि भयो होला । तर त्यसमा मेरो दोष होइन नि । न मैले कुनै उत्पीडन गरेको छु, न कसैको निगाहबाट केही पाएको छु ।’ उनीहरू भनिरहेका छन्, ‘विगतका कसै अरूका कमी–कमजोरी या बदमासीका कारण मैले अहिले पीडित हुनपर्ने ? मेरो अधिकार खोसिने ?’ यो भयले उनीहरूलाई सगोल बनाइरहेको छ ।
त्यसैले हामी सबका–सब आफूलाई पीडित ठानिरहेका छौं । र आफू जस्तैको साथ खोजिरहेका छौं । गुणदोषका आधारमा होइन, ‘मेरिट’ को आधारमा होइन, मजस्तै मेरो रूपको, मेरो जातको, मेरो लिंगको, मेरो ठाउँको आदि भनेर पक्ष लिइरहेका छौं । गलत होस्, केही भएन । कामचोर या नैतिकहराम, केही फरक परेन । मजस्तै हो, मेरो बिरादरीको हो, सकियो । सबैजना भयाक्रान्त भएकाले गर्दा हामीमा ‘प्राइमेट इन्स्टिङ्कट/लोयल्टी’ हावी भएको छ । आफ्नो बथानको खोजी छ, त्यहाँ । राम्रो–नराम्रो, असल–खराब, सही–गलत केही हेरिएको छैन ।

पीसी कल्चर र (अ)सामाजिक सञ्जाल
पछिल्लो समयका दुई परिस्थितिले यो बथाने मनस्थितिलाई परिपोषण गरिरहेको जस्तो मलाई लाग्छ । एउटा हो, ‘पीसी कल्चर’ । निजी र सार्वजनिक जीवनमा एक–अर्कालाई नजिस्क्याई, नहियाई, नहोच्याई बोल्ने कुरालाई हामी ‘पोलिटिकल करेक्टनेस’ भन्न सक्छौं । मैले लेख्ने–बोल्ने कुराले अरूलाई नदुखाओस् भनेर म सचेत हुन्छु र धेरै हिसाबले त्यसो गर्न उपयुक्त नै हो भन्ठान्छु (जस्तो कि यो कुरा यहाँ गरौं कि नगरौं, लेखौं कि नलेखौं भनेर मलाई ठूलो द्विविधा थियो) । तर हामीले यो पीसीलाई अर्कै तहमा त पुर्‍याएनौं ?
म हुर्कंदा घरमा ‘काले’ पनि भएर हुर्किएको हुँ । माया गर्दा पनि काले र गाली गर्दा पनि । फगत ‘टोन’ फरक । स्कुल/कलेज पढ्दा हामी सबैजसोका हाजिरी खातामा लेखिनेभन्दा भिन्न नाम थिए । जिस्क्याउन राखिएका ती कति नामले हामीलाई बिझ्थ्यो होला, तर कतिले सहजै लिएका हुन्थ्यौं । म मेरा अत्यन्त नजिकका साथी बाहेक अरूलाई अहिले ती नामले सम्बोधन गर्दिन । कहिलेकाहीँ साथीहरूको इमेल पाउँदा मुन्तिर त्यही जिस्किने/जिस्काउने नाम पाउँदा पुलकित हुन्छु ।
घरमा, स्कुले जीवनमा (वा कलेजमै पनि) सुन्दै, बोल्दै आएका ती कतिपय नाम, शब्द हामी सार्वजनिक जीवनमा प्रवेश गर्नासाथ उच्चारण गर्न सक्दैनौं । अरू त अरू, साहित्य लेखनमा समेत बाँधिनुपर्ने भएको छ । कुनै पात्रले कसैको भावनामा चोट पुर्‍यायो भने लेखकको हुर्मत लिइन्छ । कथं कतै अनौपचारिक कुराकानी गर्दा केही फुस्कियो भने त्यसले पनि वितण्डा मच्चाउँछ । यसरी सानैदेखि र अनौपचारिक रूपमा सुनी–बोली आएका हाम्रा अभिव्यक्तिमा अकस्मात र अत्यधिक लगाम कसिँदा त्यसले हामीलाई ‘स्ट्रेस’ मा धकेलिरहेको छ । तर सार्वजनिक रूपमा अभिव्यक्त गर्न नपाएका कतिपय ती कुरा हामीले अर्कै ठाउँमा, अर्कै हिसाबले अभिव्यक्त गरिरहेका छौं । या त हामी आफ्नो बथानमा या विभिन्न सामाजिक भनिने सञ्जालमा (खुला वा अज्ञात हुँदै) अर्थात् हामी अन्तस्करणबाटै ‘सिभिल’ भैरहेका छैनौं, फगत सिभिल भएको पाखण्ड गरिरहेका छौं ।
मैले कुरा गर्न चाहेको अर्को नयाँ परिस्थिति कथित सामाजिक सञ्जाल हो, जुन खासमा असामाजिक सञ्जाल बनेको छ । हाम्रो आवेग सिर्जनामा म त्यसको प्रभाव पनि उत्तिकै देख्छु । अहिले हामी फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब लगायतका सञ्जालमा बाँधिएका छौं । यी सञ्जालले निर्माण गरेका ‘अलोगरिदम’का कारण हामी यस्तो ‘इको–च्याम्बर’मा छिरेका छौं, जहाँ हामीले सुन्न–बोल्न चाहेका कुरामात्रै सुनिन्छ–बोलिन्छ । पहिले हामी पत्रपत्रिका पढ्थ्यौं, टिभी–रेडियो हेर्थ्यौं, सुन्थ्यौं । तर हामीले पढ्ने–हेर्ने भनेको मोबाइल र कम्प्युटर भएको छ, पत्रपत्रिका पढ्नदेखि रेडियो–टिभी सुन्न/हेर्नसमेत ।
अहिले पनि पत्रिका, रेडियो, टिभीमा एक तहको विविधता पाइन्छ, फरक वैचारिक धारका सामग्री पनि केही हदसम्म पाइन्छ । तर कम्प्युटर/मोबाइलका कुरा अर्कै छ । फेसबुक वा ट्विटर वा युट्युबले हामीलाई हाम्रो सबैभन्दा नजिकको व्यक्तिले भन्दा ज्यादा चिन्छ । हामीले खाने खाना, हामीलाई मनपर्ने रङ वा फूल, मनपर्ने मानिस, हाम्रो विचारधारा सबै उसले बुझेको छ । हामीले कसैलाई नभनेका कुरा, हाम्रा ‘डार्केस्ट सेक्रेट्स’ सबै उसलाई थाहा छ । हाम्रो ‘डिजिटल फुटप्रिन्ट्स’ कैद गरेकोले ऊ ती सबै जाँची–परखी ऊ हामीलाई हामीले हेर्न–सुन्न–पढ्न खोजेको कुरा पस्किदिन्छ ।
अनि यी सब कुराले हामीलाई झन् साँघुर्‍याउँदैछ, खुम्च्याउँदैछ । हामीलाई थप ध्रुवीकरण गर्दैछ । हाम्रो बथानमा ऊ झन्–झन् हामीलाई धकेल्दैछ । हाम्रा मनका अन्तरकुन्तरमा सुषुप्त रहेका उग्र विचारलाई ऊ ‘रिइन्फोर्स’ गरिरहेछ । हाम्रो अहंलाई तुष्ट गर्दैछ । हामीमा अजस्र घृणा, आक्रोश मौलाउँदैछ । अर्को पक्षबाट हेर्ने, अर्काको धरातलमा बसेर पर्गेल्नै नसक्ने हुँदैछौं हामी ।
अब यदि यो असामान्य समय नै नयाँ सामान्य समय (न्यु नर्मल) हुने हो भने त्यसको व्याख्याका लागि, त्यसको सैद्धान्तीकरणका लागि नवीन शिराबाट, बाकस बाहिरबाट सोच्न आवश्यक भैसकेको छ । अनि यो निरन्तरको आवेग, क्रोधबाट उम्कन र बथाने मानसिकताबाट बाहिर निस्कन जरुरी भैसकेको छ । अन्यथा यसले हामीलाई निकै टाढा पुर्‍याउँदैछ ।

विविधा

मैथिली भाषाको मर्म

रामभरोस कापडि भ्रमर

 

अहिले नेपाल–भारत दुवैतर्फ मैथिली भाषाप्रतिको चिन्ता ह्वात्तै बढेको छ । भारतमा ‘मथिलाराज्य’ र ‘प्राथमिक शिक्षामा मैथिली’को लागि आन्दोलनहरू चर्किंदै गएका छन् । तर सबैभन्दा महत्त्वपूर्ण के छ भने ती आन्दोलनमा सहभागिताको संख्या र स्तर कस्तो छ– विचारणीय पक्ष हो । मैथिली भाषासँग अनुराग राख्ने, त्यसप्रति परम्परागत रूपमा एकाधिकारका दाबी गर्नेहरू मध्येका अभियानीहरू बढी हुन्छन् भन्ने रणनीति अन्तर्गत ती समूहमा समेटिएका केही ‘इतर वर्ग’का प्रतिनिधिहरू पनि हुन्छन् ।
भारतमा मैथिलीको संख्या करोडमा भए पनि तिनका लागि कुनै कार्यक्रम लागू नहुँदा अन्य जातका प्रबुद्ध, शिक्षित जनसमुदाय मैथिली भाषा, साहित्यतिर आकर्षित नहुने, यसका ‘मानक’ स्वरुपको सिकञ्जामा कसिएर छटपटिन पुग्ने बाध्यता भोग्ने अनेकौं प्रसंग हामीबीच छर्लंग छन् । दरभंगा महाराजको समय (लगभग डेढ सय वर्षपूर्व) देखि नै मैथिलीलाई राजदरबारको भाषाको रूपमा स्थापित गरेर तत्कालीन दरबारिया पण्डित, विद्वानहरू यसलाई जनसामान्यको ‘बोली’ भन्दा फरक उच्च वर्गले बोल्ने विशिष्ट भाषाको रूपमा प्रचलनमा ल्याउन सफल भएका थिए । र यसै मानकताको साम्राज्यमा मैथिली विकसित भएर यो ‘उच्च वर्ग’ भनिने केही जातको भाषा बन्न पुग्यो ।
मैथिली भाषी जमातले आफ्नै लवजमा बोल्ने र लेख्ने काम गर्दै आए । परिणामतः मैथिलीको नाममा सरकार र समुदायद्वारा उपलब्ध अवसरहरूमा उनीहरूको हालीमुहाली चल्यो । पद–प्रतिष्ठा प्राप्त गरे । पुरस्कार थापे । अन्य समुदाय झन्–झन् टाढा हुँदै गए । उनीहरूलाई मूलधारमा ल्याउने कुनै प्रयास गरिएन । यो उपेक्षामा अज्ञानताभन्दा रणनीतिक उपक्रम बढी देखिन्छ । एकाधिकारको सुख भोग्ने कामना । र त्यसै अनुरुप आजसम्म हुँदै आएको पनि छ ।
अहिले केही हदसम्म भावनात्मक परिवर्तन भएको बाहिरी गतिविधिबाट अनुमान गर्न सकिन्छ । त्यो अवस्था सबैलाई समेट्ने उदारभाव जागेर आएको मलाई लाग्दैन । परिस्थितिजन्य बाध्यात्मक अवस्था आएको जस्तो देखिन्छ । अचेल मञ्चमा दस जनामा एक/दुईजना इतर वर्गका प्रतिनिधिलाई पनि राखिहाल्ने परिपाटी चलेको छ । तर मञ्चको केन्द्रविन्दु उनीहरू नै हुने गर्छन् ।
सम्मान, पुरस्कार थाप्नेहरूका सालाना सूची हेरौं– दर्जनौंबीच कुनै एक/दुईजना इतर वर्गका स्रष्टा, अभियानी शौभाग्यशाली बन्न पुग्छन् । पद/प्रतिष्ठाको कुरा हो, यो अहिले पनि तिनै समूहका व्यक्तिहरूले हात पार्छन् ।
रुचि राख्ने, केही उच्च वर्गका मैथिली भाषा, साहित्य अभियानी मित्रहरूको प्रामाणिक कथन अनुसार ‘खास वर्गमा विशिष्ट प्रकारको संस्कारी जिन’ नभए पनि अनेकौं मैथिली भाषा, साहित्यमा अग्रपंक्तिमा उपस्थित भएका छन् र निरन्तर साधनारत छन् । तर यो उनीहरूको वैयक्तिक र संयोगले प्राप्त अवसरको प्रतिफल हो । सहज र स्वाभाविक प्रक्रियाबाट प्राप्त भएको अवसर भने पक्कै होइन ।
नेपाल क्षेत्रमा त्यस्तै अवस्था छ । नेपाली साहित्यका सबै सरकारी पुरस्कारहरू एकलौटी रूपमा थोकभाउमा एकपक्षीय वितरण हुन्छ भने अन्य भाषाभाषीबाट गरिने मातृभाषा वा राष्ट्रभाषा नेपालीको सेवालाई निरन्तर उपेक्षा गरिँंदै आइएको छ ।
यो आलेखको विषय मैथिली भाषाको वर्तमान अवस्थाप्रति केन्द्रित हुने रहेकोले म आज सबैथोकका एकला हकदार ठान्नेहरू समूहगत रूपमा मैथिलीलाई सबैको भाषा मान्न किन अगाडि सरे त ? यस विषयमा चर्चा गर्नेछु ।
नेपालको राष्ट्रिय जनगणना २०६८ ले नेपालका भाषामध्ये दोस्रो ठूलो भाषाको रूपमा मैथिली (११.६७) लाई राखेको छ । यो पहिलेदेखिकै निरन्तरता हो । बरु जनसंख्याको गणनामा केही संख्या बढे पनि प्रतिशतमा केही कम आएको देखिन्छ । यो प्रारम्भिक संकेत थियो, जसलाई मैथिलीका दाबेदारहरूले अनुभव गर्न सकेनन् ।
अब नयाँ जनगणना हुँदैछ । जुन गतिले मैथिली भाषीहरूले नै मैथिली भाषा अढाई प्रतिशतको मातृभाषा भएकोले हामीले बोल्ने भाषा मगही वा पश्चिमतिर बज्जिका हो भनेर अभियान नै सञ्चालन गर्दै आएका छन्, त्यसले मैथिलीका अभियन्ताहरूलाई घचघच्याउन थालेको छ । र अबको नारा ‘मैथिली सबै मिथिलाको साझा भाषा हो’ भन्न सक्नुपर्छ । मञ्चहरूमा सहकार्यको प्रवृत्ति र त्यसलाई सामाजिक सञ्जालहरूमा खुलेर प्रचार गर्नु यसै आवश्यकताको स्वीकारोक्ति पनि हो । तर पनि यसमा ठूलो पेच अझ पनि खुल्नसकेको छैन । र त्यो हो, भाषाको सर्वव्यापीकरणको लागि शब्दको सहजीकरण अर्थात ग्रामीण शब्दहरूको औपचारिक रूपमा शब्दकोशमा समावेश ।
मैथिलीलाई सबै समुदायको भाषाको रूपमा मान्यता दिन यसको परम्परागत व्याकरण र शब्दकोशमा व्यापक परिमार्जनको आवश्यकता छ । तर यस्तो गर्दा परम्परागत मानक स्वरुपको बखेडा सबैभन्दा ठूलो बाधक बन्न पुग्छ । आज यही मानकको बखेडालाई भाषाविज्ञहरू, भाषाप्रति रुचि राख्नेहरूको आवश्यक सहमतिको आधारमा परिवर्तन गर्नुपर्ने बाध्यात्मक परिस्थिति आइपरेको छ । मुखले जे बोलिन्छ, त्यही लेख्नुपर्छ भन्ने नाराकै भरमा भाषा, साहित्यको स्वरुप स्थिर हुन सक्दैन । त्यसका लागि न्यूनतम आधार, सिद्धान्त र स्वरुपको निर्धारण हुनैपर्छ । नत्र भाषा, साहित्यमा छाडातन्त्रको प्रवेशले यसको स्वरुपलाई अझ विकृत बनाउनेछ, आकर्षक होइन । हो, बोल्दाखेरी यथारूप मैथिली भनी स्वीकार गर्नुपर्छ । त्यसमा कुनै मापदण्ड राख्नु भाषाको क्षेत्र अनुसार स्वरुप बदलिने पूर्वको सिद्धान्तको पनि खिलाफ हुन जान्छ ।
मैथिली पढेका, विद्यावारिधि गरेका, पुस्तक लेखेका कसरी रातारात मगही भाषी भए ? यसका दुई पक्ष कारण छन् ।
१. परम्परादेखि मैथिली भाषाको लेख्य परम्परा र बोलिने भाषिक विशिष्ट शैलीबाट परिचित रहँदै आएका समाजका ठूलो वर्गले आफूलाई मैथिली भाषीभन्दा आफ्नो भाषा र परिवेश फरक भएकोले कालान्तरमा यत्रो वर्ष (लगभग डेढ सय वर्षभन्दा बढी) चुपचाप स्वीकार्दै आए पनि अब नयाँ पुस्ताको सोच र सत्यलाई अवगत गरी भाषाको स्वामित्वलाई ठाढै चुनौती दिनुको सट्टा आफ्नो कित्ता बेग्लै छ्ट्युाउने र मगही लगायतका भाषाको प्रवेश हुन थाल्यो ।
२. समुदायका इतर वर्गभित्र कुनै खास जात–जाति र तिनले बोल्ने विशिष्ट शैलीको भाषा (निश्चय मैथिली) कै कारण आफूलाई अलग–थलग मान्न विवश भइरहेका जनसमुदायलाई एउटा भाषाको नाम दिनुपर्ने ठूलो गृहकार्यपछि मगही भाषा ठम्याए र त्यसपछि मैथिली भाषीहरू ब्राह्मणेत्तर वर्गका केही युवा पिढी, जागरुक समाजसेवी, राजनीतिकर्मीहरू संगठित रूपमा मगहीको प्रचार–प्रसारमा लागे ।
पूर्वमा मैथिली भाषी भनिने २ नं. प्रदेशको सर्लाही पूरा र रौतहट आधा–आधीजति मानिँंदै आएकोमा ती भूभागमा आज बज्जिकाको वर्चस्व छ । त्यस्तै मैथिली भाषाको रूपमा रहेका महोत्तरी, धनुषा, सिरहा, सप्तरी जिल्लामा मगही भाषाको प्रचार बढी देखिन थालेको छ ।
नेपालको प्रारम्भिक र दुई दशक पहिलाको जनगणनामा यी दुई भाषाको अवस्था न्यून थियो भने २०६८ सालको जनगणनाले केही मात्रामा मगही देखाए पनि बज्जिकाको संख्या (७,९१,६४२ ) मा राम्रो बढोत्तरी भएको देखिन्छ । यदि यही अवस्था रह्यो भने अगामी जनगणनामा मगहीको संख्या ह्वातै बढ्ने पूर्वानुमान गर्न सकिन्छ । गंगाको दक्षिण् ीक्षेत्रमा बोलिने मगही मध्य मैथिली क्षेत्रमा कसरी छिर्‍यो ? प्रस्ट गर्नुपर्ने जिम्मेवारी भाषा वैज्ञानिकहरूको हैन र ? कुनै पनि भाषाको बढ्दै गएको अस्वाभाविक संख्याको पृष्ठभूमिप्रति चिन्तनशील हुनुको सट्टा अतिरञ्जित रूपमा विरोध गर्नुको कुनै अर्थ हुँदैन । सत्य केलाउनैपर्छ र त्यसपछि आउने समाधान निश्चय नै दीर्घकालीन हुनेछ ।
नेपालमा आजसम्म भाषा–वैज्ञानिक सर्भेक्षण गरिएको छैन । जनगणनामा गएका गणकहरू विज्ञ हुँदैनन् । उनले प्राप्त हलफनामालाई नै सामान्यतः अन्तिम ठान्छन् । एकै परिवारका थरीथरीका मातृभाषा लेखाउनेहरू पनि देखापर्न सक्छन् । त्यसैले जनगणना अघि भाषाप्रति गम्भीर छलफल र दिशानिर्देश दिनु आवश्यक छ । मैथिली क्षेत्रमा मात्रै होइन, पहाडी क्षेत्रमा पनि भाषा सम्बन्धी समस्या आउन सक्छ, त्यतातिर पनि समयमै ध्यान पुर्‍याउनसके त्यो विवादलाई न्यून गर्न मद्दत हुनेछ । जनगणनापछिको विश्लेषण बैठकहरूमा यसबारे गम्भीरतापूर्वक विमर्श हुनु जरुरी हुनेछ ।
समष्टिमा विचार गर्दा मैथिली भाषाको प्राचीन र समृद्ध स्वरुपलाई निरन्तर अग्रगामी बनाइराख्न यसमा व्याकरण र शब्दकोशको निर्माण नयाँ ढंगबाट गर्नुपर्छ । पाठ्य–पुस्तकको लेखन र सम्पादन त्यसै व्याकरण र शब्दकोशको आधारमा हुनुपर्छ । जसले गर्दा भाषाप्रति अपनत्व बढ्न सकोस् र भावनात्मक उद्वेगमा जसले पनि कुनै वर्ग विशेषको भाषा भनी मैथिलीको छुट्टै नामकरण गरी आफू अत्यन्त समृद्ध र बहुसंख्यक बोलिने भाषाबाट पृथक बस्न नयाँ भाषालाई मातृभाषाको रूपमा स्वीकार गर्न लागिपरेका छन्, तिनीहरूले पनि पुनर्विचार गर्न सकुन् ।
मैथिली भाषा आजको अवस्थासम्म आइपुग्न निकै दशकको कठिन दौडबाट गुज्रेको छ । यस्तै विकसित भाषाको अवस्थामा पुग्न अन्य नयाँ भाषाभाषीलाई कति दशक अझ संघर्ष गर्नुपर्ने हो, त्यो अहिल्यै भन्न सकिँंदैन ।

 रामभरोस कापडि भ्रमर

Page 7
विविधा

बमको भाषाशास्त्र

सिउँडी
- विमल निभा

 

बिगब्रटरको बम हान्ने शैली बडो मौलिक खालको रहेको छ । यसको युद्धक विमानले पहिले त कुनै पनि स्वतन्त्र मुलुकमा हठात् बम खसाल्छ । त्यसपछि ‘श्वेत भवन’ मा रहेका मिस्टर प्रेसिडेन्ट त्यसलाई आरामसँग अंग्रेजी भाषामा उल्था गरेर दुनियाँलाई सुनाउने गर्छन् । यही अहिलेसम्म चलिआएको सुपरपावर बिगब्रदरको बमको सम्पूर्ण भाषाशास्त्र हो ।
मेरो अंग्रेजी भाषा पर्याप्त कमजोर रहेको छ । तथापि मैले सुपरपावर बिग्रब्रदरको बमको भाषा बुझ्न थालेंँ कि के हो ! केही दिन अघि इरानी कमाण्डर कासिम सुलेमानी बमले इराकमा मारिंँदा म पनि घाइते भएको थिएँ । यसको अर्थ मिस्टर प्रेसिडेन्टको ठाडो आदेशमा मेरो टाउकोमाथि बम खसालिएको भन्ने पनि होइन । त्यो दिन म अचानक खुट्टा चिप्लिएर भर्‍याङबाट लडेको थिएँ । तर अहिलेको प्रधान सवाल मेरो एकथान घाइते टाउकोको होइन । वस्तुतः बहुचर्चित एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन) को हो । झन्डै यही बेला हाम्रो विदेश मन्त्री कमरेड प्रदीप ज्ञवालीले अति उत्फुल्ल मुद्रामा घोषणा गरेका थिए– ‘एमसीसीको कुनै रणनीतिक प्रयोजन रहेको छैन ।’ त्यसो भए यसमा कुनै पनि किसिमका बम आदि समावेश रहेको छैन त कमरेड ? यो बहुतै खुसीको बात भयो । तर एमसीसीसँग प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्धित बिगब्रदरको बोलीको टोन त अर्कै रहेको छ नि ! यही सिलसिलामा उसको एम्बेसीको प्रवक्ताले के स्पष्ट गरे भने एमसीसी इन्डो–प्यासिफिक रणनीति अन्तर्गत नै हो । अब हामीले कसको भनाइलाई मान्ने ? मेरो विचारमा त आफ्नै मुलुकका विदेश मन्त्रीको कुरा मान्नु बढियो हुन्छ । कुनै विदेशी दूतावासका पराई मानिसको कुरा किन मान्ने ? हेर्नोस्, एक प्रकारले पुँजीवादी मुलुकका व्यक्तिसँग एक समाजवादी मुलुकका मन्त्रीको कुरा नमिल्नु बेसै हो । म त पुरै विदेशमन्त्री कमरेड ज्ञवालीको साथमा छु । तर स्वयम् एमसीसी बाहकले नै अघि बढेर एमसीसीलाई रणनीतिक अंग भनिरहेको सन्दर्भमा मनमा थोरै शंका त अवश्य उत्पन्न हुन्छ– कतै हाम्रा विदेशमन्त्री साँच्चिकै विदेशमन्त्री त होइनन् ? मेरो मतलव कुनै विदेशको नै मन्त्री भनेर नठानियोस् । वास्तवमा प्रदीप ज्ञवाली कमरेड स्वदेशकै विदेशमन्त्री हुन् । मेरो कुरामा पत्यार नलागे सम्माननीय प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीसँग डाइरेक्ट सोधे हुन्छ । एक छिनपछि मेरो मनमा एउटा अर्को शंका उत्पन्न हुन्छ– यो सोधाइले पनि के हुन्छ र ? हाम्रा प्रधानमन्त्री कमरेड ओली कुनै एमसीसी विरोधी त पक्कै होइनन् । उनी त खाँट्टी एमसीसीप्रेमी हुन् । त्यसकारण बेला–मौकामा निर्धक्कसँग मुलुकमा एमसीसी नल्याई
छाड्दिन भनिरहेकै छन् । यसले मेरो मनमा फेरि पनि शंका
उत्पन्न भएको छ– कतै हामी एमसीसीको असीम कृपाले बम आदिको रेन्जमा त आउन
लागेका छैनौं ?
सुपरपावर बिगब्रदरको इतिहास भनेकै अविच्छिन्न रूपमा बमकै इतिहास हो । र आजसम्मको विश्व इतिहासमा एकमात्र यसलाई नै परमाणु बम पड्काएर जापानका लाखौंलाख नरनारी र ससाना बालक/बालिका निर्दोष ज्यान हरण गर्ने गौरव प्राप्त छ । तर भियतनामको युद्धमा भने बिगब्रदरको बम त्यति कामलाग्ने भएन । त्यस युद्धमा धेरै भियतनामीहरूले बमबाट मृत्युवरण गर्नुपरेको थियो । र अन्ततः भियतनामी नेता कमरेड हो चि मिन्हको नेतृत्वमा भियतनामका जनताहरूले बिगब्रदरको बमबाट मर्न ठाडै इनकार गरेका थिए । त्यसैले आफ्ना सबै बम बोकेर
सुपरपावर बिगब्रदर त्यहाँबाट लुरुलुरु फर्कन बाध्य भएको थियो । र हाल भियतनाममा काम नलागेका तमाम् बमलाई अन्य मुलुकमा काममा लगाइएको छ । तर उसको बम वर्षाउने
टेक्निक भने केही परिवर्तित भएको देखिन्छ । हो, अफगानिस्तानको युद्धदेखि बिगब्रदरले बम सँगसँगै राहतको पकेट पनि युद्धक विमानबाट खसाउन थालेको छ । यसको परिणामस्वरुप अफगानिस्तान, सिरिया, इराक, लिबिया आदि मुलुकका जनताले पकेटमा भएको राहतको केक आदि टन्न खाएर आरामसँग बमबाट गर्ने सुविधा पाएको छ ।

अन्त्यमा,
नेपाली जनताहरू हो, अपार आनन्दको कुरो के हो भने सुपरपावरको एमसीसीबाट अग्रिम राहतस्वरुप लगभग पचपन्न अर्ब डलरको प्राप्ति हुने भएको छ । त्यसउसले सम्माननीय प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली ब्रान्डेट ‘कम्युनिस्ट राज्य’ मा हामी बिगब्रदरको एमसीसी जनित बम–समले मृत्युन्मुख अर्थात् मर्ने नै भए पनि सित्तैमा चाहिँं पर्ने छैनौं है !

विविधा

अष्ट्रेलियाको आगो

- उत्तमबाबु श्रेष्ठ

नयाँ वर्षको दिनमा अष्ट्रेलियाको राजधानी क्यानवेरामा वायुको गुणस्तर विश्व स्वास्थ्य संगठनले तोकेको मापदन्डभन्दा बीस गुणा ज्यादा हानिकारक थियो । त्यस अघि प्रदूषणकै कारण मेलवर्नमा भएको क्रिकेट प्रतियोगितामा दर्शकहरूले बलसमेत देखेनन् । हरेक वर्ष बसोबासका लागि उपयुक्त सहरको विश्वसूचीमा उपल्लो स्थान ओगट्ने अष्ट्रेलियाका यी सहरहरूको वायु प्रदूषणको अवस्था यतिखेर संसारकै प्रदूषित सहरहरूको भन्दा नाजुक छ । त्यसको कारण— गत सेप्टेम्बरयता निरन्तर लागिरहेको आगलागी हो ।
अहिलेसम्म आगलागीले १ करोड ७ लाख हेक्टर जमिन सखाप पारेको छ । जुन नेपालको प्रदेश नम्बर १, २, वागमती, गण्डकी र ५ नम्बर प्रदेशको जम्मा क्षेत्रफल जोड्दाभन्दा पनि ठूलो भूभाग हो । क्षेत्रफलमा अष्ट्रेलिया नेपालभन्दा करिब ५२ गुणाले ठूलो छ । नेपालको कुल वन क्षेत्रभन्दा दोब्बर क्षेत्र हो । अझै पनि सयौं ठाउँहरूमा आगो लागिरहेका छन्, जुन तत्काल रोकिने गुञ्जायस छैन । अष्ट्रेलियाका कतिपय ठाउँहरूमा त आगलागीको मौसम सुरु भएकै छैन ।
अष्ट्रेलियामा आगलागी शताब्दियौंदेखिको नियति हो । त्यहाँ आगोको लागि आवश्यक मौसम र इन्धन प्रचुर भएकाले झिल्कोमात्रै भेटे पनि आगोले रौद्ररूप धारण गर्छ । अष्ट्रेलिया संसारकै सुक्खा महादेश हो । त्यहाँ गर्मीयाममा तापमान उच्च हुने गर्छ । त्यहाँको १३ करोड ४० लाख हेक्टर जमिनमा वन छ । गर्मीयाममा उच्च तापमान, कम आद्रतायुक्त हावा र जंगलहरूमा सुकेको झारपात र रुखका हाँगाबिँंगाले आगलागीको इन्धनको काम गर्छ । प्राकृतिक (चट्याङ) वा मानवीय कारण (बिजुलीको तारबाट झिल्का खसेर, मान्छेले जानाजान वा असावधानीवश आगो जंगलमै छोडेमा) बाट आगो लाग्छ । उच्च गतिको हावाले आगोलाई ठूलो भूभागमा फैलाउँछ र नियन्त्रणमा बाधा पुर्‍याउँछ । यो वर्ष तुलनात्मक रूपमा आगलागीका लागि मौसम धेरै नै अनुकूल रह्यो । त्यसैले प्रभाव र तीव्रताको हिसाबले यसपालीको आगलागी कीर्तिमानी बनेको छ ।
आगोले ठूलो जनधन र अतुलनीय वातावरणीय क्षति पुर्‍याएको छ । क्षति अझै बढ्ने निश्चित छ । हालसम्म २९ जनाले ज्यान गुमाइसकेका र ४३०० घर तथा भवनहरू जलेर नष्ट भएका छन् । दसौं हजार मानिस घरबार छोड्न बाध्य भएका छन् । एक अनुमान अनुसार हालसम्म उक्त आगलागीले १ सय १० अर्ब डलर बराबरको प्रत्यक्ष–अप्रत्यक्ष क्षति पुर्‍याएको छ ।
यतिखेर आगलागीले अष्ट्रेलियाको जैविक विविधता र विश्व वातावरणमा पारेको प्रभाव संसारभर चर्चामा छ । आगलागीमा करिब १ अर्ब जनावर मरेको आशंका छ । लोपोन्मुख रैथाने प्रजातिहरूको वासस्थानमा लागेको आगोको कारण करिब ५०० जति त्यस्ता जीवजन्तुहरू सधैंका लागि लोप भएको बताइएको छ । आगलागीले जनावरहरूको वासस्थान, प्रजननस्थल, खाद्य सामग्री र पानीको स्रोतहरूसमेत नष्ट वा क्षतिग्रस्त भएको त्यसबाट बचेका जनावरहरूको भविष्यको जीवन पनि संकटग्रस्त बन्ने पक्का छ । यस आगलागीबाट पृथ्वीको वायुमण्डलमा हालसम्म जलवायु परिवर्तनको कारक मानिने ३५ करोड टन कार्बन उत्सर्जन भएको छ । जुन अष्ट्रेलियाले वर्षभरिमा उत्सर्जन गर्ने परिमाणको दुई तिहाइ हो ।

जलवायु परिवर्तनको असर
जलवायु परिवर्तनको हिसाबले बितेको वर्ष र पुरै दशक अष्ट्रेलिया लगायत सम्पूर्ण विश्वको लागि ऐतिहासिक बन्न पुग्यो । अष्ट्रेलियाको मौसम विभागको प्रतिवेदन अनुसार, सन् २०१९ देशकै इतिहासमा सबैभन्दा गर्मी र कम वर्षात भएको वर्ष बन्न पुग्यो । यस अघि सबैभन्दा सुक्खा वर्ष मानिएको सन् १९०२ भन्दा सन् २०१९ मा १२ प्रतिशतले कम वर्षात भयो । त्यसैगरी सबैभन्दा उष्ण वर्षको रेकर्ड बनाएको २०१३ को तुलनामा २०१९ को औसत तापक्रम ०.२ डिग्री सेल्सियसले बढी थियो । सन् २०१९ पृथ्वीको लागि पनि अहिलेसम्मकै सबैभन्दा उष्ण वर्ष सावित भयो । गतवर्ष पृथ्वीको औसत तापमान (सन् १९६१ देखि १९९० सम्मको औसत तापमानको तुलनामा ) ०.८ डिग्री सेल्सियसले उच्च थियो र २०१० को दशक नै सबैभन्दा गर्मी । यसरी निरन्तर उकालो लागेको तापमानले पृथ्वीको वर्षात, वातावरण, विपद्हरूमा व्यापक फेरबदललाई ल्याएको छ, जसलाई जलवायु परिवर्तन भनिन्छ । त्यसकारण अष्ट्रेलियामा यसपाला समय अगावै र भीषण रूपमा लागेको आगोको कारक जलवायु परिवर्तन हो भन्नेमा धेरैको मतैक्य छ ।

यो त टेलर मात्रै
यतिखेर सञ्चार माध्यममा देखिएका दन्किरहेका आगोका ज्वाला, त्यसबाट निस्केको कालो बाक्लो धुवाँ र त्यसलाई नियन्त्रणको लागि हवाइजहाज र जमिनमा भइरहेका प्रयास, आगलागीबाट बच्न बस्ती छोडेर भाग्दै गरेका मानिसहरू, आगोपछि मरेका जनावरहरूका छरिएका सिनो र उजाडिएको दृश्य हलिउडको कुनै फिल्मको जस्तो लाग्छ । तर अध्येताहरूले यसलाई जलवायुजन्य संकटको टेलरमात्रै भनेका छन् । किनभने जलवायु परिवर्तनले पृथ्वीको पर्यावरणमात्र होइन, कृषि, औद्योगिक उत्पादन र अर्थतन्त्र लगायतका मानवीय क्रियाकलापहरूमा व्यापक असर पार्ने वैज्ञानिक दाबी छ । यसले विश्वभर बाढी–पहिरो, अतिवृष्टि, खडेरी, आगलागी जस्ता
विपद्हरूको बढोत्तरी गरिरहेको छ । भविष्यमा त्यस्ता विपद्हरूको तीव्रता, सीमा र आवृति अझै बढ्ने अनुमान छ ।
अष्ट्रेलियामा जलवायु परिवर्तन र डढेलोको सम्बन्ध बारेमा सन् २०१२ मा अर्थशास्त्री रोज गार्नेटको नेतृत्वमा एक अध्ययन गरिएको थियो । अध्ययनले जलवायु परिवर्तनको कारण भविष्यमा आगलागीको मौसम चाँडै सुरु हुने, लामो समयसम्म रहिरहने र तीव्र हुने पूर्वानुमान गरेको थियो । उक्त अध्ययनमा त्यहाँ जलवायु परिवर्तनले चरम आगलागीका घटनाहरूमा सन् २०३४ सम्ममा ६५ प्रतिशत र २०६७ सम्ममा ३०० प्रतिशतले बढ्ने र त्यसको संकेत २०२० सम्म देखिने बताइएको थियो । जुन यतिखेर सत्य सावित भएको छ । तथापि अष्ट्रेलियाली स्कट मोरिसनको सरकार त्यस्ता अध्ययनहरूमा आधारित पूर्वतयारी भन्दा जलवायु परिवर्तन र आगलागीको सम्बन्धलाई नकार्न र बंग्याउन उद्यत छ—देशभित्र र देश बाहिर ।

जलवायु सम्मेलनमा सलाइको काँटी
पृथ्वीको जलवायु परिवर्तनको कारक मानव निर्मित कार्बन लगायतका हरितगृह ग्यास उत्सर्जन रहेको वैज्ञानिक तथ्यहरूले पुष्टि गरिसकेका छन् । यद्यपि यस विषयलाई कार्बन उत्सर्जक विकसित देशका सरकारहरू र ठूला तेल/कोइला कम्पनीहरूले विवादित बनाइरहेका छन् । उनीहरूले आफ्नो कार्बन उत्सर्जनको विगतको दोषबाट उम्कन तथ्यहरूलाई बेवास्था गर्ने, बंग्याउने र त्यसमाथि धावा बोल्ने गरिरहेका छन् । फलस्वरुप विश्वव्यापी रूपमा कार्बन उत्सर्जन घटाउने ठोस कदम चाल्न बाध्यकारी सम्झौताहरू हुन सकिरहेका छैनन् ।
डिसेम्बरमा स्पेनको म्याड्रिडमा सम्पन्न भएको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २५) लेपेरिस सम्झौताको कार्यान्वयनमा ठोस काम गर्ने अपेक्षा गरिएको थियो । तर सम्मेलन उत्सर्जन कटौती, कार्बन व्यापारको व्यवस्थापन र जलवायुजन्य क्षति तथा नोक्सानीमा लगानी र जलवायु वित्तजस्ता विषयमा विना सहमति टुंगियो । त्यसका लागि अष्ट्रेलिया लगायतका धनी राष्ट्रहरू बाधक बने । पेरिस सम्झौतालाई जलवायु परिवर्तनको कोशेढुंगा माने पनि त्यो बाध्यकारी सम्झौता होइन, स्वयंसेवी प्रकृतिको सम्झौता हो । त्यसकारण पेरिस सम्झौताको पालना भएमा पनि पृथ्वीको तापमान सन् २१०० सम्ममा ३.२ डिग्री सेल्सियसले वृद्धि हुने क्लाइमेट एक्सन ट्रयाकरको प्रक्षेपण छ । जबकि जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय निकाय आईपीसीसीले जलवायुको प्रलयकारी असरबाट पृथ्वीलाई जोगाउन तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नुपर्ने बताएको छ । यसै बीचमा बाराक ओवामा राष्ट्रपति हुँदा गरिएको पेरिस सम्झौताबाट ट्रम्पको अमेरिकाले हात झिकेपछि यसको प्रभावकारितामा थप प्रश्न उब्जेको छ ।
अष्ट्रेलियाको वर्तमान सरकार जलवायु परिवर्तनको विश्व राजनीतिमा कहिले ट्रम्पको अमेरिकासँग मिलेर (जलवायु विज्ञानप्रति अविश्वास र आक्रमण गर्न) त कहिले ब्राजिल, चीन र भारतसँग मिलेर (कोप २५ मा) सम्झौताको वातावरण बिगार्न लागिपरेको छ । कोप २५ मा अष्ट्रेलियाले आफूले क्योटो अभिसन्धिले निर्दिष्ट गरेको भन्दा बढी कार्बन उत्सर्जन घटाएकोले त्यो क्रेडिट पेरिस सम्झौताको कार्यान्वयनमा पाउनपर्ने अडान राखेको थियो । जसलाई ब्राजिल, चीन र भारतले समर्थन र १०० भन्दा बढी देशले विरोध गरेका थिए । क्योटो अभिसन्धि अनुसार कार्बन उत्सर्जन केही समयसम्मलाई बढाउन पाउने छुट पाएको विकसित राष्ट्र अष्ट्रेलियाले त्यही छिद्रमा टेकेर गरेको त्यस्तो हर्कत कोप २५ को असफलताको एउटा कारक बन्न पुग्यो । यद्यपि पेरिस सम्झौतामा पुरानो क्रेडिट पाउने बुँदा उल्लेख छैन । अष्ट्रेलियाले कोप २५ मा देखाएको उक्त चलाखीपूर्ण कदमलाई गार्डियन पत्रिकाले घरमा डढेलो लाग्दा आगोको कारक घटाउने विश्व सम्मेलनमा मोरिसन सरकार सलाइको काँटी बोकेर गएको भन्दै कटाक्षपूर्ण टिप्पणी छापेको थियो ।
अष्ट्रेलियाले विश्व मञ्चमा जलवायुबारे प्रतिगामी चरित्र देखाउनुका पछाडि वर्तमान मोरिसन सरकार र उनको पार्टीको कोइलाजस्ता फोहोरी ऊर्जाप्रतिको मोह प्रमुख छ । अष्ट्रेलिया विश्वमै कोइला बढी उत्पादन गर्ने मध्येमा चीन, भारत र अमेरिकापछिको चौथो राष्ट्र हो । अष्ट्रेलियाको कार्बन उत्सर्जन धनी देशहरूको तुलनामा कम भए तापनि प्रतिव्यक्ति उत्सर्जनमा अष्ट्रेलिया उच्च स्थानमा पर्छ । एक नेपालीले वर्ष दिनभरि गर्ने कार्बन उत्सर्जन एक अष्ट्रेलियालीले केही दिनमै गर्छ । जलवायु विश्व नीतिमा यस्तै रवैयाको कारण जलवायु परिवर्तन निस्पादन सूचांक २०२० मा अष्ट्रेलिया जलवायु परिवर्तन नीतिको लागि संसारकै खराब मुलुक बन्यो । जर्मन वाच भन्ने संस्थाले निकालेको उक्त प्रतिवेदनले मोरिसन सरकारलाई प्रतिगामी भनेको छ ।
घर बाहिर त्यस्तो चरित्र देखाइरहेको मोरिसन सरकार घरभित्र आगलागीको कारक जलवायु परिवर्तनलाई मान्न तयार छैन । मोरिसन सरकार र उनका समर्थकहरूको राय छ— अष्ट्रेलियाभर यतिखेर लागिरहेको आगोको कारण जलवायु परिवर्तन होइन, बरु जंगलमा थुप्रिएको इन्धन हो । यो अर्धसत्यमा टेकेर पुरातनपन्थी सञ्चार माध्यमहरूले जलवायु परिवर्तन पक्षधरहरूमाथि
निरन्तर दोषारोपण गरिरहेका छन् । उनीहरूले जंगलमा
आगलागीको इन्धन मानिने सुकेका हाँगाबिँगा त्यसै छोडिएकोले डढेलो लागेको बताइरहेका छन् । तर जंगलमा इन्धन थुप्रनुले
भन्दा जलवायु परिवर्तनले आगलागीलाई यति भयावह बनाएको वैज्ञानिक दाबी छ ।
अष्ट्रेलियाको घरेलु राजनीति र वैदेशिक नीति एक दशकदेखि जलवायु परिवर्तनको पक्ष र विपक्षमा विभाजित भइरहेकोले आगलागीको समस्यामा यतिखेर घ्यु थपिएको जस्तो भएको छ । समस्याको कारकप्रतिको बुझाइ र समाधानको उपायमा यहाँका राजनीतिक दलहरू विपरीत ध्रुवमा छन् । त्यसैले अष्ट्रेलियाको यसपालीको आगो त ढिलो–चाँडो निभ्ला नै, तर आगलागीको कारक मानिएको जलवायुजन्य राजनीतिक आगो निभ्न झने निकै समय लाग्न सक्छ ।
ट्वीटर ः २गततबदबदग

विविधा

कोही किन काठमाडौं धाउँछ ?

- जनकराज सापकोटा

आफ्नो फसलको पैसा उठाइदिन माग गर्दै मध्य पुसमा मध्य मधेसबाट काठमाडौं आएका किसानहरू घर फर्किसके । शरीरमा गढेको काठमाडौंको चिसो फाल्न उनीहरू यतिबेला घुर तापेर पैसा आउने भाका गनिरहेका होलान् । आफ्नै पैसा उठाउन राजधानी धाउनुपर्ने, मिडियाका अघि धरधरी रुनुपर्ने अनि सिंहदरबारका कोठा–कोठा चहारेर न्यायको भिख माग्नुपर्ने अवस्था लोकतन्त्रपछि सबैभन्दा धेरैपटक दोहोरिएको विद्रुप दृश्य हो । यद्यपि लोकतन्त्रको गद्दीमा आसिनहरूलाई
आफ्नो पाउमा छांँद हाल्न आइरहेका अदनाहरूको शृंखलाबद्ध लस्कर देखेर आजसम्म लाज लागेको इतिहास छैन । किनकि भेनेजुयलाका पक्षमा वक्तव्य निकालेर हस्ताक्षर गर्न आतुर हातहरू सत्तामा छन् । उनीहरूको मन किसानका आँसुले पोल्दैन । बरु मेडिकल सञ्चालकका पक्षमा उनीहरू दर्जनौं भाषण गर्न तयार छन् । चिनी व्यापारीले सरकारलाई झुक्याएको बक्न तयार छन्, तर किसानका दुःखमा उनीहरूको वक फुट्दैन ।
देशका दूरदराजबाट न्यायको खोजीमा ऋण काढेर, निरीह अनुहार लगाएर, खाली खुट्टा र भोट हाल्दाहाल्दै धुमिल रेखा भएका बुढीऔंला बोकेर काठमाडौं आउनेहरूको शृंखला लोकतन्त्र स्थापनापछिका प्रत्येक वर्षहरूमा सबैभन्दा धेरै दोहोरिएको कुरूप दृश्य हो । औंला भाँचेरै वर्षहरू गन्ने हो भने २०६६ चैत २२ गते त्यति धेरै अघिको समय होइन । त्यतिबेला राजनीतिमा संक्रमण त थियो, तर राजनीति सही बाटोतिरै हिँडिरहेको थियो । सम्झिनुपर्ने धेरै कुराहरूको माझमा यो मिति परोइन । सरकारलाई त झन् इतिहासका यस्ता मितिहरू सम्झिने फुर्सदसम्म हुँदैन । त्यो दिन बाराका किसानहरू मकैको बोट नै बोकेर सिंहदरबार छिरेका थिए । उनीहरूका आँखामा सुकिसकेको आँसुको डोब थियो । रुँदारुँदै थाकेजस्तो स्वर थियो । त्यस यताका वर्षहरूमा कैयन बाली मकै लगाइयो र कैयन बाली मकै भित्र्याइयो । सरकारी लापरबाहीका कारण कमसल मकैको विउ भित्रिएको र पसिना र खुन सिञ्चिएर हुर्किएको मकैको घोकामा दाना नलागेको भन्दै ती किसानहरूले सिंहदरबारका कोठाचोटामा आँसु बगाएका थिए । अनि बदलामा एक भारी आश्वासन पाएर उनीहरू कहिल्यै काठमाडौं नफर्किने भन्दै घर फर्केका थिए ।
त्यसयता सालिन्दा किसानहरू, सुदखोरबाट अन्यायमा परेकाहरू, स्थानीय प्रहरी र प्रशासनको चेपुवामा परेकाहरू हुल बाँधेर काठमाडौं आउने क्रम रोकिएको छैन । अघिल्लो वर्षमात्रै आर्थिक सूचकांकमा सबैभन्दा पिँधमा रहेको सर्लाहीका झन्डै सय दीनहीनहरू सुदखोरलाई कारबावही गरिपाउँ भन्दै याचना बोकेर राजधानी छिरेका थिए । दुई साल लगातार काठमाडौं धाएपछि मात्रै उनीहरूले दलका ठूला नेतालाई भेट्ने मौका पाए । अनि निख्रिसकेको आँसु देखाउन भ्याए । त्यसपछि बल्ल केही नेताहरूले बडो पराक्रम गरेको शैलीमा अनेकतिर फोन घुमाए । अखबारहरूमा तिनका कान्तिहीन अनुहार छापिए । तिनका आक्रोश प्रकाशित भए । शक्ति र सत्ताको केन्द्रमा रहेकाहरूको पाउ परेपछि बल्ल सुदखोर पक्राउ परे ।
एउटा सुदखोर पक्राउ परेको केही महिनापछि त्यस्तै प्रकृतिको सैतानी ब्याजको पासोमा परेका सर्लाहीका अर्को हुल पीडितहरू काठमाडौंमा आए । उनीहरूले पनि मिडियासामु ब्याजको पासोमा झुन्डिँदाको सकस सुनाए । अनि प्रहरी र प्रशासनले गम्भीरताको बर्को ओढेर ती सुदखोरहरूलाई पक्राउ गरिहाल्यो ।
यतिका समयदेखि पीडितहरू स्थानीय अड्डा–अदालतको दैलो धाउँदा–धाउँदा पनि ती सुदखोर किन पक्राउ परेनन् ? दीनहीनको आँसु स्थानीय प्रशासन, रैथाने दलका नेताका आँखामा किन परेनन् ? क–कसको के–के स्वार्थको भुमरीमा फँसेर ती दीनहीन वर्षौंसम्म अन्याय दुश्चक्रमा हेलिनुपर्‍यो ? कसैले सोधेन, कसैले खोजेन । गला रेट्न आँटिरहेका सुदखोर पक्राउ परेको खुसीमा उनीहरू मौन बसे । अनि इतिहासतिर फर्किने फुर्सद नभएको हतार यात्रीझैं राज्य आफ्नै गतिमा घिस्रिरह्यो ।
सर्लाहीका अघिल्लो सुदखोरको घटना विस्मृतिमा पुग्न नपाउँदै उखु किसानहरू निमभन्दा तितो ठगीको कथा लिएर केही साताअघि माइतीघर मण्डलामा आइपुगेका थिए । काठमाडौंको चिसो र झरीमा केही दिन आँत कपाएपछि मात्र तिनका कुरा सिंहदरबारले सुन्यो । अनि वार्ता र छलफलको अनौठो नाटकपछि किसानहरू वाग्मतीमा आफ्नो आँसु पखालेर घर फर्किए । अनि केही चोथाले सरकारी मुखहरूले स्वर उँचो पारेर भने, ‘देख्नुभयो, सरकारले कुशलतापूर्वक समस्या किनारा लगायो ।’
प्रत्येक दलभित्र किसानका नाममा खुलेका भ्रातृ संगठन छन् । तिनको नेतृत्व वर्षौं पुराना बासी अनुहारहरूले गरेका छन् । त्यस्ता संगठनमा माटोको गन्धसम्म थाहा नभएका तर असार पन्ध्रमा गमलामा धानको विउ रोपेर कृषकको पक्षमा बोलेको स्वाङ पार्नेहरूको हालीमुहाली छ । तिनीहरू उखु किसानका कान्तिहीन अनुहार देखेर न भावुक हुन्छन्, न बोल्नुपर्ने सम्मको कर्तव्य निर्वाह गर्छन् ।
जसरी मेडिकल कलेजले सरकारी सर्तभन्दा उधुम शुल्क उठाएर ढाड सेकिएका विद्यार्थी र अभिभावकहरू सडकमा उत्रिएर कुर्लिंदा पनि क्रान्तिकारी भनिएका विद्यार्थी संगठनका माउहरू बोलेका थिएनन् नि हो, त्यसैगरी उखु किसान कुर्लिंदा पनि किसान संगठनका माउहरू कतै देखा परेनन् । सायद तिनीहरू कतै समृद्धिको गीत गाउन ब्यस्त थिए वा सत्ताको कुनै उछलकुदमा समय बितिरहेको थियो ।
सम्झाउन परोइन, देशले केन्द्रीकृत राज्य प्रणालीको बर्को फ्याँकेर संघीयताको नेमप्लेट राखेको कति वर्ष भइसक्यो । अनि कति शृंखला भइसके, न्यायको खोजीमा हुल बाँधेर काठमाडौं धाउनुपर्ने घटनाको पटाक्षेप भएको । उखु किसानहरूभन्दा पहिले मेडिकल माफियाको ठगी पासोमा फँसेका विद्यार्थीहरू न्याय माग्न काठमाडौं आएका थिए । माइतीघर मण्डलामा आफ्नो स्वर उँचो पारेका थिए । सिंहदरबारतिर फर्केर न्याय खै ? भनेका थिए । केही दिन कराएपछि, अखबारमा तिनका निरीह अनुहार छापिएपछि मात्रै सरकारले हत्त न पत्त छलफल सुरु गरेको थियो । अनि तोकेभन्दा बढी शुल्क लिएका मेडिकल सञ्चालकहरूलाई तातो चिया टक्र्याउँदै सरकारी निवासमा वार्ताका अनेकन भागहरू मञ्चन भएका थिए । त्यसपछि त्यही भयो, जुन उखु किसानहरूका हकमा भएको थियो । बिग्रेको नगदी कारोबार मिलाउन उधारो सहमति ।
धन्न गरिमा धानको विउबाट पीडित भएका चितवनका किसानहरू काठमाडौं धाउन भ्याएनन् । विउ बिक्रेताको चंगुलमा परेर बाली भित्र्याउने बेला आँसु र ऋण भित्र्याएका किसानहरू खेतका डिलबाट पर्तिर पाइला सार्नै नसक्नेगरी थला परे । ती किसानहरूको आँसुको स्वाद नुनिलो थियो कि कस्तो थियो, सिंहदरबारले थाहै पाएन् । तिनीहरू पनि आएको भए सिंहदरबारले उही पुरानो उधारो सहमतिको एक शृंखला नाटक मञ्चन गर्ने थियो । अनि सत्तासिनहरू मुख मिठ्याउँदै भन्ने थिए, ‘जनताको पीरमर्का सम्बोधन गर्न कति आतुर छौं ।’
आफ्नै अभिमानको हुस्सुले पुरिएको काठमाडौंमा न्याय खोज्दै कोमात्रै धाएनन् । कञ्चनपुर निम्बुखेडाकी निर्मला पन्तकी आमा आइनन् कि सीमापारि बेचिएर पनि न्याय नपाएकी नेपालगन्जकी किशोरी आइनन् । न्याय माग्ने हो कि पाउने हो ? न्याय खोज्ने हो कि न्याय प्रदान गरिने हो ? समृद्धिको चर्को बहसमा यो प्रश्न कसले सुन्ने ? किन सुन्ने ?
एक समय सुस्तावासीहरू आफ्नो भूमि खोसियो भन्दै सालिन्दा काठमाडौं धाउँथे । अनि गाँसबासमा भएभरको खर्च सकिएपछि निराश भएर फर्किन्थे । अब त तिनीहरू काठमाडौं नधाएको पनि धेरै भइसक्यो । काठमाडौंले कतिलाई थकाएर पठाइदियो, गलाएर पठाइदियो त्यसको हिसाब कसैले राखेको छैन । तर यत्ति हो, शक्तिको केन्द्रले धेरैलाई भुलाएर पठाइदिएको इतिहास पढ्न धेरै समयको पुरानो पात्रो पल्टाउनु परोइन ।
लोकतन्त्र स्थापनापछि संविधान नलेखिँदाका वर्षहरूमा सिंहदबारको ढोकामा बादीहरू आए । सिमान्तकृतहरू आए । जनजातिहरू आए । दलितहरू आए । सत्ता र शक्तिले पिँधमा धकेलेकाहरू पनि आए । अनेकन यत्नपछि संविधान जारी भयो । सबैको संविधान भनियो । गाउँ–गाउँमा सिंहदरबार पनि भनियो । तर गाउँका सिंहदरबारहरू किन कसैका न्याय नपाएहरूका निम्ति कामयावी भएनन् ? के प्रदेशको न्वारन गर्नेसम्मको अधिकार बालुवाटारले खोसेर काठमाडौंले
आफ्नो शक्ति देखाएको हो ? के यो कदम जानीबुझीकन काठमाडौंको पाउमा आएर ललाट नठोकेसम्म न्याय मुस्किल छ भन्ने सन्देशको भरणपोषण हो । इतिहासको पुनर्संकथनको लस्करमा राम शाहको पालामा न्याय नपाए गोर्खा जानु भनेजस्तै न्याय नपाए काठमाडौं धाउनु भनेर स्थापित गर्न खोजिएको हो ।

 

Page 8
स्वास्थ्य

योग किन गर्ने ?

- अतुल मिश्र

तीन दशकअघिसम्म नेपालमा मधुमेह, दम, मुटु र मृगौलालगायतका नसर्ने रोगबाट करिब एक तिहाइ (३१ प्रतिशत) मानिसको मृत्यु हुने गरेको थियो । तर अहिलेको अव्यवस्थित सहरीकरण, नकारात्मक जीवनशैली, खानपान, शारीरिक सक्रियतामा कमी, तनाव, प्रदूषण आदिले गर्दा उक्त तथ्यांक बढेर दुई तिहाइभन्दा बढी भएको छ ।
यस्ता रोग लागिसकेपछि ‘चिकित्सकीय उपाय’ रहे पनि बिरामी हुनै नदिन योग वा आयुर्वेदिक जीवनशैलीको विकल्प छैन । हिमालको काखबाट हजारौं वर्षअघि अस्तित्वमा आएको योग हाल विश्वभर फैलिए पनि नेपालीले त्यसको अझै फाइदा लिन सकेका छैनन् । ‘आफू स्वस्थ रहने जिम्मेवारी तपाईंकै हो,’ स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय भन्छन्, ‘आयुर्वेदको स्वस्थ जीवनशैली अपनाए नसर्ने रोगको ७० प्रतिशत बोझ देशमा कम हुन सक्छ ।’ रोग लाग्ने आनुवांशिक कारणलाई परिवर्तन गर्न नसके पनि बाँकी सम्पूर्ण कारणको उपचार आफैं गर्न सकिने उनको भनाइ छ । करिब ३० प्रतिशत नसर्ने रोग वंशानुगत अवस्था, प्रदूषण, वातावरणीय कारण र थाहा हुन नसकेका विषयलगायत अन्य कारणले लाग्ने गरेका छन् । तसर्थ, आयुर्वेदले बिनाकुनै अतिरिक्त खर्च ७० प्रतिशतसम्म नसर्ने रोगमा कमी ल्याउँछ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया शाखाले योग सबै उमेरका मानिसले गर्न सक्ने बताउँदै बालबालिकाले सातामा ६० मिनेट र वयस्कले १ सय ५० मिनेट योग गर्दा नसर्ने रोगबाट टाढा रहन सकिने जनाएको छ । हाल सहरिया जीवनशैली, शारीरिक सक्रियताको कमीलगायतका कारणले गर्दा दक्षिणपूर्वी एसियामा समेत नसर्ने रोगको जोखिम बढ्दो छ ।
६५ वर्ष माथिका मानिसमा योगले उदासी रोग (डिप्रेसन) को जोखिम कम गर्न सघाउनुका साथै संज्ञानात्मक क्षमतालाई कायम राख्ने उल्लेख गर्दै डब्लूएचओले यो क्षेत्रका ७० प्रतिशत युवा र ८० प्रतिशत युवतीले अपर्याप्त शारीरिक गतिविधि गर्ने गरेको बताएको छ । बर्सेनि यो क्षेत्रमा नसर्ने रोगका कारण ८५ लाख मानिसको मृत्युसमेत हुने गरेको छ ।
५ हजार वर्षदेखि अभ्यासमा रहेको योग शारीरिक शक्ति र लचिलोपना वृद्घिको प्रभावकारी उपाय रहेको भन्दै डव्लुएचओले मुटुसम्बन्धी स्वास्थ्य राम्रो पार्न मात्रै नभई क्यालोरी बढाउन र मस्तिष्कलाई आराम पुर्‍याउन पनि यसको प्रभावकारिता रहेको बताएको छ । ‘योग साधारण व्यायाम मात्रै हैन । यो शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेर निरोगी राख्ने विधि पनि हो,’ डब्लूएचओले भनेको छ ।
‘योगमा गरिने आसनले मुटु र रक्तनलीसम्बन्धी समस्या र मधुमेह आदि जस्ता रोगबाट जोगाउँछ,’ डा.उपाध्याय भन्छन्, ‘प्राणायामले शरीरमा अक्सिजनको प्रवाह बढाएर छाला र श्वास–प्रश्वाससम्बन्धी रोग, क्यान्सरलगायतका जटिल रोगबाट जोगाउँछ वा यसको विस्तारलाई कम गर्छ ।’ योगअन्तर्गतको ध्यानले हाल समाजमा अत्यधिक देखिन थालेको उदासीपन, तनाव र छटपटी आदि कम गर्ने उनी बताउँछन् । पछिल्लो दशक नेपालमा कुनै न कुनै रूपमा, जानी नजानी योग गर्ने क्रम देखिएको छ । योग गर्नेहरू ग्रामीण क्षेत्रको दाँजोमा सहरमा बढी छन् ।
पतञ्जली योग समिति, नेपालका केन्द्रीय प्रमुख एवं योगगुरु लवदेव मिश्रका अनुसार, समितिको दिनहुँ नियमित चल्ने ४ हजार योग कक्षामा औसत ५ जना सरिक हुने गरेका छन् । यसरी हेर्दा करिब दुई लाखभन्दा बढी नेपाली नियमित रूपमा कक्षामा आएर दिनहुँ योग गर्ने गरेका छन् । पतञ्जलीले हालै गरेको सर्वेक्षणअनुसार, घरमै बसेर पनि करिब १५ लाख नेपालीले दिनहुँ नियमित योग गरिरहेका छन् । यसरी दिनहुँ नियमित योग गर्ने नेपाली करिब १७ लाख रहेको औंल्याउँदै मिश्र भन्छन्, ‘अझ योगको सम्पर्कमा रहेका करिब ७० लाख नेपालीसमेत छन् ।’
विज्ञहरूका अनुसार, मुलुकमा हरेक परिवारले योगलाई आफ्नो जीवनशैलीको अंग बनाउँदा हाल आकासिँदै गएको नसर्ने रोगको जोखिममा कमी आउँछ । यसले जीवनभर उपचार, औषधिको सेवन गर्नुपर्ने नसर्ने रोगबाट बचाएर व्यक्ति, समाज र मुलुकको अर्बौं रुपैयाँ जोगाएको छ ।
स्वस्थ व्यक्तिले प्रमाणपत्र प्राप्त प्रशिक्षकको सुझावमा उपयुक्त तरिकाले नियमित योग गर्नु फाइदाजनक हुन्छ भने बिरामी, बूढापाका आदिले चिकित्सकसँग सल्लाह गरी आफ्नो उमेर, रोग, अवस्थाअनुकूल हुने योग गर्नुपर्छ ।


स्वस्थ व्यक्तिले गर्नुपर्ने योग
एउटा सामान्य स्वस्थ व्यक्तिले आफ्नो स्वास्थ्यलाई कायम राख्न दिनहुँ योगका केही क्रियाहरू अपनाउनुपर्छ । यसअन्तर्गत दिनहुँ पूर्ण व्यायाम (यौगिक जगिङ), सूर्य नमस्कारको साथै आठवटा प्राणायाम गर्नुपर्ने मिश्र बताउँछन् । प्राणायामअन्तर्गत भस्त्रिका, कपालभाती, बाह्य, उज्जाइ, अनुलोमविलोम, भ्रामरी, उद्गिथ, प्रणव प्राणायाम गर्नुपर्छ । स्वस्थ व्यक्तिले दिनहुँ सामान्यतः आधा घण्टादेखि आफूसँग भएको समयअनुसार दुई घण्टासम्म योगमा खर्चनु उपयुक्त हुन्छ ।
सूर्योदय हुनुभन्दा दुई घण्टाअघिदेखि सूर्य उदाएको दुई घण्टा पछिसम्म खाली पेटमा योग गर्दा यसको अधिकतम फाइदा पाउन सकिने योगगुरु मिश्र बताउँछन् । उसो त दिनमा अन्य समयमा योग गर्दासमेत पेट खाली हुनु उपयुक्त हुन्छ ।
विद्यार्थीको लागि योग
विद्यार्थीका लागि मनलाई एकाग्र बनाउने योग बढी प्रभावकारी हुन्छ । योगगुरु मिश्रका अनुसार, विद्यार्थीले आठवटा प्राणायाम गर्नुको साथै वृक्षासन, गरुडासन, मयूरासन, चक्रासन, कुक्कुट आसन, बक्रासन, शीर्षासा, सर्वाङ्ग आसन, हलासन र पश्चिमोत्तानासन गर्नु फाइदाजनक हुन्छ । यी प्राणायाम र आसनहरूले विद्यार्थीमा एकाग्रता
बढाउनुका साथै शरीरको स्वस्थकर वृद्घिमा समेत सघाउँछ ।
यति मात्र नभई सूर्य नमस्कार र योगिक जगिङसमेत गर्दा एकातर्फ सूर्य नमस्कारले शरीरको लचकता बढाउँछ भने अर्कोतर्फ प्राणायामबाट हुने लाभसमेत मिल्छ ।
मानसिक स्वास्थ्यका लागि फाइदाजनक
योग शारीरिक स्वास्थ्यका लागि फाइदाजनक रहेको मुख्य मान्यता समाजमा रहे पनि यसले मानसिक स्वास्थ्यमा समेत बल पुर्‍याउँछ । अमेरिकाको इलिनोइस विश्व विद्यालयमा हठ योगमा गरिएको ११ वटा अनुसन्धानको अध्ययन पछि के देखियो भने, यसले योग गर्नेहरूको मानसिक स्वास्थ्य र स्मरणशक्ति राम्रो हुन्छ ।
मनुष्यको स्मरणशक्तिसँग सम्बन्ध रहेको हिप्पोकेम्पस क्षेत्र उमेरसँगै खुम्चिन थाल्छ । यो क्षेत्र बढी खुम्चिएपछि स्मरण क्षमता प्रभावित हुने अल्जाइमरजस्तो रोग हुने सम्भावना रहन्छ । तर अध्ययनमा के देखियो भने योग गर्नेहरूको हिप्पोकेम्पसको आकार नखुम्चिई यसको सामान्य वृद्घि कायम भएको देखियो ।
योग नगर्नेको दाँजोमा योग गर्नेहरूको भावनात्मक आदानप्रदानमा भूमिका खेल्ने मस्तिष्कको एउटा खण्ड ‘इमिग्डाल’ ठूलो हुन्छ । यति मात्र नभई योग गर्नेहरूको मस्तिष्कको क्षेत्र प्रि–फ्रन्टल कर्टेक्स, सिगुलेट कर्टेक्ससमेत ठूलो हुन्छ वा बढी क्षमतासँग काम गर्छ ।
यूएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड हृयुमेन सर्भिस, नेसनल सेन्टर फर कम्प्लिमेन्ट्री एन्ड इन्टिग्रेटिभ हेल्थ (एनआईएच) को तथ्यपत्रअनुसार, विभिन्न अध्ययनहरूले तल्लो ढाडको दीर्घकालीन दुखाइको समस्या भएकाहरूमा सावधानीपूर्वक योगाको केही आसनहरू अपनाउँदा दुखाइ कम गर्न सक्नुको साथै अन्य क्रियाकलाप सहज हुने देखिएको उल्लेख छ ।
अध्ययनहरूले यो पनि सुझाव दिएको छ कि योगाले मुटुको गति र रक्तचाप घटाउनुका साथै अन्य स्वास्थ्यसम्बन्धी फाइदासमेत देखिन सक्छ । यस्तै व्याकुलता र उदासीपन हटाउनसमेत योगाले सघाउन सक्ने एनआईएचको तथ्यपत्रमा उल्लेख छ । योगको नकारात्मक प्रभाव र जोखिमबारे एनआईएचको तथ्यपत्रमा उपयुक्त रूपमा पूर्ण दक्ष प्रशिक्षकको रेखदेखमा स्वस्थ व्यक्तिले योग गर्दा सामान्यतः सुरक्षित रहेको उल्लेख छ । एनआईएचका अनुसार, गर्भवती महिला, उच्च रक्तचाप, ग्लुकोमा (पानी भरिएर आँखा नदेखिने रोग), सियाटिकाजस्ता चिकित्सकीय अवस्था भएकाहरूले आसनमा सुधार वा केही आसन गर्नु हुँदैन ।
योग गर्नुअघि के गर्ने ?
योग विज्ञान भएकाले यो प्रक्रिया सुरु गर्दा विशेषत दिशानिर्देश, सिद्घान्तको पालन गर्नु आवश्यक मानिन्छ । मुलुकको सरकारी स्वास्थ्य निकायले हालसम्म आम व्यक्तिका लागि योगबारे कुनै प्रोटोकल निर्माण गरेको छैन । भारत सरकारको आयुष (आयुर्वेद) मन्त्रालयले योगसम्बन्धी निर्माण गरेको सामान्य प्रोटोकलअनुसार योगाभ्यास गर्नुअघि समेत केही विशेष प्रक्रिया अपनाउनु आवश्यक हुन्छ ।
योग अभ्यास गर्नुभन्दा अघि नै शौच गरेको हुनुपर्छ । यसको अर्थ शोधन भएकाले यो योग अभ्यासका लागि महत्त्वपूर्ण र अपेक्षित क्रियाकलाप मानिन्छ । यस्तै, योगाभ्यास शान्त वातावरणमा आरामले शरीर र मनलाई शिथिल गर्दै गर्नुपर्छ । योग अभ्यास अल्पाहार लिएर वा खाली पेटमा गर्नु उपयुक्त मानिन्छ । अभ्यासको समय कमजोरी अनुभव भए मन तातो पानीमा अलिकति मह मिलाएर लिन सकिने आयुष मन्त्रालयको प्रोटोकलमा प्रस्तावित छ ।
योग अभ्यास गर्दाताका सुतीको हलुको र आरामदायी लुगा लगाउनु उपयुक्त हुन्छ । रोग, थकाइ वा हडबडीको अवस्थामा योग गर्नु हुँदैन । पुरानो रोग, दुखाइ एवं मुटुसम्बन्धी समस्या भएको अवस्थामा योग सुरु गर्नुभन्दा अघि चिकित्सक वा योग विशेषज्ञको सल्लाह लिनु आवश्यक मानिन्छ । गर्भावस्थासँगै महिनावारीको अवस्थामा समेत योग गर्नुअघि विशेषज्ञसँग परामर्श लिनुपर्ने प्रोटोकलमा उल्लेख छ ।
योग अभ्यासको प्रारम्भ प्रार्थना वा स्तुतिबाट गर्नुपर्ने बताइएको छ । यसले मस्तिष्क शान्त अवस्थामा ल्याउने अवस्था सृजना गर्छ । योग अभ्यास आरामदायी स्थितिमा शरीर एवं श्वासप्रश्वासको सजगताका साथ बिस्तारै बिस्तारै सुरु गर्नुपर्छ । तपाईंलाई प्रशिक्षकले नभनेसम्म अभ्यासको समय श्वासप्रश्वासको गति रोक्नु हुँदैन । श्वास लिँदा पनि
प्रशिक्षकले अन्य विधिले नभनेसम्म सधैं नाकबाटै श्वास लिनुपर्छ ।
योगको अभ्यास गर्दाताका शरीरमा विशेष ध्यान दिनुपर्छ । शरीरलाई कडा राख्नु हुँदैन, शिथिल राख्नुको साथै कुनै पनि प्रकारको झड्काबाट जोगाउनुपर्छ । योग गर्दा आफ्नो शारीरिक एवं मानसिक क्षमताअनुसार नै गर्नुपर्छ । राम्रो परिणाम आउन केही समय लाग्ने भएकोले निरन्तर अभ्यास आवश्यक मानिन्छ । प्रत्येक योग अभ्यासका लागि हुने गरेको निर्देशन, सावधानी र सीमालाई पालना गर्नुपर्छ । योग सत्र समापन सधैं ध्यान र मौनबाट गर्नुपर्छ । आयुष मन्त्रालयको प्रोटोकलअनुसार, योगाभ्यास गरेको २० मिनेटदेखि आधा घण्टापछि नुहाउनुपर्छ भने अभ्यासको २० मिनेटदेखि ३० मिनेटपछि नै खाना खानुपर्छ ।
आयुषको प्रोटोकलअनुसार योग अभ्यासको सुरुवात प्रार्थनाबाट गर्नुपर्छ । यसले मस्तिष्कलाई शिथिल गर्न शान्त वातावरण तयार पार्छ । योग अभ्यासलाई आरामदायक स्थितिमा शरीर एवं श्वासप्रश्वासको सजगताका साथ बिस्तारै बिस्तारै सुरु गर्नुपर्छ । योग अभ्यासको विशेष रूपमा नभनिएसम्म श्वासप्रश्वासको गति भने रोक्नु हुँदैन ।
अन्य विधिले श्वास लिन नभनिएसम्म योग गर्दाताका नाकले मात्र सास फेर्नुपर्छ । योग अभ्यास गर्दा शरीरलाई शिथिल राख्नुपर्छ । कुनै प्रकारको झड्का दिनु हुँदैन ।
योग अभ्यास आफ्नो मानसिक र शारीरिक क्षमताअनुसार नै गर्नुपर्छ । योग अभ्यासबाट देखिने राम्रो परिणामका लागि केही समय लाग्न सक्ने भएकोले नियमित र निरन्तर अभ्यास धेरै आवश्यक छ । प्रत्येक योग अभ्यासका लागि हुने निर्देशन, सावधानी एवं सीमालाई पालना गर्नुपर्छ । योग अभ्यास सत्रको समाप्ति सधैं ध्यान गहन मौन र शान्ति पाठबाट गर्नुपर्ने आयुषको प्रोटोकलमा उल्लेख छ । यस्तै योग अभ्यास गरेको २० देखी ३० मिनेटपछि नुहाउनुपर्छ भने यतिकै समय पछि खानुपर्छ ।
योगले के गर्छ ?
विगत केही दशकमा विश्वको विभिन्न भागमा भएका अध्ययनअनुसन्धानअनुसार योगले शारीरिक स्वास्थ्य, स्नायुतन्त्र र अस्थिपञ्जर प्रणालीलाई सुचारु रूपले काम गर्न र मुटु तथा नाडीको स्वास्थ्यका लागि फाइदाजनक अभ्यास हो ।
योगले उच्च रक्तचाप, श्वासप्रश्वाससम्बन्धी विकार, मधुमेह निम्न रक्तचापलगायत जीवनशैलीसँग सम्बन्धित थुप्रै विकारको व्यवस्थापन गर्न लाभकारी छ ।
यसले मानसिक अर्थात् उदासी रोग, चिन्तासम्बन्धी विकार, थकाइ, तनाव कम गर्न सहयोगी हुन्छ । महिलालाई महिनावारी नियमित गर्नसमेत योगले सघाउने आयुषको प्रोटोकलमा उल्लेख छ ।


कसले कुन योग गर्नु हुँदैन ?
उमेर, शरीरको बनावट, रोग, शारीरिक स्थिति आदि हेरेर हरेक योगको प्रक्रिया सबै व्यक्तिका लागि उपयुक्त हुँदैन ।
योगगुरु मिश्रको अनुसार ढाड, कम्मरका रोगीले अगाडितिर झुक्ने र गह्रुँगो आसन गर्नु हुँदैन । यस्तै उच्च रक्तचाप र मुटुका रोगीहरूले कपालभाती तीव्र गतिमा गर्नु हुँदैन भने शरीरलाई पछाडितिर फर्काउने प्रकार को कुनै पनि आसन गर्नु हुँदैन । चक्रासन, धनुरासन, टाउको तल हुने शीर्षासन, सर्वाङ्ग आसनजस्ता आसन गर्नु हुँदैन । श्वासलाई रोक्ने प्राणायाम र आसनहरू उच्च रक्तचाप भएकाहरूले गर्नु हुँदैन । उनीहरूले श्वासभित्र लिएर रोक्नु वा बाहिर छोडेर रोक्नु अर्थात् कुम्भक गर्नु हुँदैन ।
पेटमा रक्तश्राव भएकाहरूले कपालभाती गर्नु हुँदैन । पेट, छाती आदिको शल्यक्रिया गराएका व्यक्तिले ४ देखि ६ महिनासम्म कपालभाती र बाह्य प्राणायाम गर्नु हुँदैन । छातीसम्बन्धी समस्या भएकाहरूले लामो श्वास लिने, लामो श्वास छाड्ने प्रक्रिया मन्द वा मध्यम गतिले गर्न मिल्छ तर तीव्र गतिले गर्नु हुँदैन ।
महिनावारी भएको स्थितिमा महिलाले कठिन आसन गर्नु हुँदैन । महिनावारीमा बढी रक्तश्राव हुनेहरूले कपालभाती गर्न रोक्नुपर्छ ।

स्वास्थ्य

यौनक्रिया नहुँदा महिनावारी सुक्छ

- कान्तिपुर संवाददाता

हालै गरिएको एउटा अध्ययन अनुसार, स्वस्थ यौनक्रियामा बढी संलग्न रहने महिलामा महिनावारी सुक्ने (मेनोपेज) सम्भावना कम हुन्छ ।सातामा एक पटक यौनक्रियामा संलगन रहने महिलामा महिनावारी सुक्ने सम्भावना महिनामा एक पटक यौनक्रिया गर्ने महिलाको दाँजोमा २८ प्रतिशत कम हुन्छ ।
तीन हजार महिलामा गरिएको यो अध्ययन जर्नल रोयल सोसाइटी ओपेन साइन्समा प्रकाशित छ । अध्ययनअनुसार यौनको भौतिक संकेतले शरीरलाई संकेत दिन सक्छ कि गर्भवती हुने सम्भावना छ । अध्ययनअनुसार मध्य आयु अर्थात् ३५ वर्ष वा योभन्दा बढी उमेरमा बारम्बार यौनक्रियामा संलग्न नहुने महिलामा छिटो महिनावारी सुक्ने अवस्था अर्थात् रजोनिवृत्ति देखिन्छ ।
अध्ययनले के देखाउँछ भने, यदि कुनै महिलाले यौन सम्बन्ध बनाउँदैनन् र गर्भधारणको मौका छैन भने शरीरले अण्डा (ओभम) को निर्माण गर्न बन्द गर्छ । किनभने यसको कुनै आवश्यकता हुँदैन ।
महिलामा हरेक महिना अण्डा निस्किने समय महिलाको प्रतिरक्षा क्षमता बिग्रिन्छ । यसले शरीरमा रोग हुने सम्भावना बढ्छ ।
अध्ययनमा सहभागी महिलाहरूलाई यौन संलग्नताबाहेक पछिल्लो ६ महिनामा कामोत्तेजना (सेक्सुअल अराउजल) सँग सम्बन्धित प्रश्नसमेत गरिएको थियो । यस अन्तर्गत यौन स्पर्श, आत्मोत्तेजना, मुखमैथुन, हस्तमैथुन आदिबारे विस्तृत जानकारी लिइएको थियो ।
अध्ययनअन्तर्गत यौनक्रियामा भाग लिनेबारे सबैभन्दा बढी जवाफ साप्ताहिक थियो । अर्थात् ६४ प्रतिशत महिलाले सातामा एकपटक यौनसम्बन्ध बनाउनेबारे बताएका थिए । दस वर्षको समयमा के देखियो भने, ३ हजार महिलामध्ये ४५ प्रतिशत अर्थात् १ हजार ३ सय २४ जनाले ५२ वर्षको औसत उमेरमा रजोनिवृत्तिको अनुभव गरे ।

स्वास्थ्य

जौको फाइदा नै फाइदा

- कान्तिपुर संवाददाता

प्राचीनकालदेखि नै उपयोग गरिने अन्न हो– जौ । यसमा बोसो र नुनको मात्रा कम हुन्छ । यो प्राकृतिक लौह तत्त्वको राम्रो स्रोत हो । क्याल्सियमको राम्रो स्रोत भएकोले जौ मुटु, हाड, नङका लागि राम्रो मानिन्छ ।
विभिन्न अध्ययनहरूका अनुसार, जौ घुलनशील रेसाको सर्वोत्तम स्रोत हो । जौको एक खोराक (पाकेको, आधा कप) मा करिब चार ग्राम टाँसिने घुलनशील रेसा (बिटा ग्लुकन) पाइन्छ । यो रेसा रगतमा एचडीएल कोलेस्ट्रोल अर्थात् तथाकथित नराम्रो कोलेस्ट्रोललाई कम गर्न सहयोग गर्छ ।
जौ अतिरिक्त बोसोलाई अवशोषित गर्छ र प्रणालीबाट बाहिर पठाउँछ । यसै कारणले उच्च घुलनशील रेसाले गर्दा जौ कन्सिटिपेसनलाई निको पार्छ । यसले ‘ग्यास्ट्रो इन्टेसटाइनल बर्क’ लाई नियन्त्रित गर्न समेत सहयोग गर्छ । जौ स्नायुसम्बन्धी विकारमा समेत उपयोगी मानिन्छ । जौले महिलामा रजोनिवृत्तिको सुरुवातसँग जोडिएको डिम्बग्रन्थी एवं मूत्र प्रणालीसँग सम्बन्धित समस्या कम गर्न सहयोग गर्छ । जौमा केही फरक प्रकारको बोसोयुक्त एसिड र एन्टिअक्सिडेन्ट हुन्छ जो भिटामिन ‘ई’ सँग मिलेर कोषिकाको नोक्सानलाई न्यून गर्छ तथा यसबाट क्यान्सरको खतरा कम हुन्छ ।
भारतको उत्तर प्रदेश फैजावादस्थित नरेन्द्रदेव कृषि एवं प्रविधि विश्वविद्यालयको अनुसन्धानअनुसार जौको नियमित उपयोगले रक्तचाप, मधुमेह, पेट र मूत्रसम्बन्धी रोग, मृगौलाको रोग, बिर्सने रोग आदिमा प्रभावकारी मानिन्छ । आयुर्वेद चिकित्सकहरू जौलाई उमारेर कलिलो हरियो टुसाको जुस खानाले क्यान्सर रोगको वृद्घिलाई समेत मत्थर गर्ने दाबी गर्छन् ।

 

स्वास्थ्य

वायु प्रदूषणले सिजोफ्रेनिया

- कान्तिपुर संवाददाता

वायु प्रदूषणले हाम्रो शारीरिक स्वास्थ्यलाई मात्र प्रभावित पार्दैन, यसले मानसिक स्वास्थ्यलाई समेत प्रभावित पार्ने अध्ययनमा देखिएको छ ।
जामा नेटवर्क ओपेन साइन्समा प्रकाशित अध्ययनअनुसार वायु प्रदूषणको उच्च स्तरको प्रभावमा पर्ने बच्चामा सिजोफ्रेनिया हुने खतरा बढी हुन्छ ।
यो अध्ययनमा संलग्न २३ हजार ३ सय ३५ व्यक्तिमध्ये ३ हजार ५ सय ३१ जनामा सिजोफ्रेनियाको समस्या थियो ।
सिजोफ्रेनिया एक प्रकारको मानसिक रोग हो, जसले व्यक्तिको सोच्ने बुझ्ने, अनुभूति गर्ने व्यवहारलाई नकारात्मक रूपले प्रभावित गर्छ ।
पर्यावरण विज्ञान विभागको प्रदूषणसम्बन्धी तथ्यांक र आईपीएसवाईसीएचको आनुवांशिक तथ्यांकको संयुक्त अध्ययनले प्रदूषणको स्तर जति बढी हुन्छ, सिजोफ्रेनियाको खतरा त्यति नै बढ्ने थाहा भएको हो ।
वायु प्रदूषणको घनत्वमा दिनहुँ १० मिलिग्राम प्रति लिटरको वृद्घिले सिजोफ्रेनियाको खतरा २० प्रतिशतसम्म बढ्छ । अध्ययनअनुसार त्यस्तो बच्चा जो दिनहुँ २५ मिलिग्राम प्रति घनमिटरभन्दा बढी वायु प्रदूषण भएको पर्यावरणमा रहन्छन्, उनीहरूमा सिजोफ्रेनिया हुने आशंका ६० प्रतिशतसम्म बढी हुन सक्छ ।
अनुसन्धानकर्ताले तथ्यांकका आधारमा के पत्ता लगाए भने कुनै व्यक्तिको सम्पूर्ण जीवनमा सिजोफ्रेनिया हुने आशंका करिब २ प्रतिशत हुन्छ । यसको अर्थ हरेक १ सय व्यक्तिमध्ये दुई जनामा यो रोग हुने सम्भावना रहन्छ ।
वायु प्रदूषणको निम्नस्तरको सम्पर्कमा आउनेलाई सिजोफ्रेनिया हुने खतरा २ प्रतिशतसम्म हुन्छ भने वायु प्रदूषणको उच्च स्तरको सम्पर्कमा आउनेका लागि यो तथ्यांक करिब ३ प्रतिशतसम्म हुन्छ ।
यो पहिलो अनुसन्धान हो, जसमा वायु प्रदूषण र आनुवांशिक सम्बन्धको संयुक्त अध्ययन गरेर सिजोफ्रेनियाको जोखिम पत्ता लगाइएको हो ।

Page 9
विदेश

अमेरिका र रूसबीच जुहारी

नयाँदिल्लीमा अमेरिका र रुसका उच्च अधिकारीहरू आईपीएसको उद्देश्य र लक्ष्यलाई लिएर सार्वजनिक रूपमै आरोप प्रत्यारोपमा उत्रिए
- सुरेशराज न्यौपाने

(नयाँदिल्ली) - नेपालमा मिलेनियम च्यालेन्ज करर्पोरेसन कम्प्याक्ट (एमसीसी) परियोजना अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) अन्तर्गत हो वा होइन भन्ने विवाद चर्किरहेका बेला दुई पराम्परागत शक्तिराष्ट्र अमेरिका र रुसबीच यही विषयमा जुहारी चलेको छ ।
नेपालमा एमसीसी परियोजना आईपीएसअन्तर्गत नै भएको भन्दै विरोध हुँदै आएको छ । जबकि नेपाल सरकारले भने आईपीएसको अवधारणा लागू हुनुअघि नै एमसीसी परियोजनाको सम्झौता भएको भन्दै त्यसको बचाउ गर्दै आएको छ । अमेरिकाले नेपालको सडक र जलविद्युत् पूर्वाधार विकासका लागि एमसीसीअन्तर्गत ५० अर्ब रुपैयाँ अनुदान दिने भएपछि आईपीएससँगको सम्बन्धबारे नेपालमा विवाद भइरहेको हो । यही बेला भारतको राजधानी नयाँदिल्लीमा अमेरिका र रुसका उच्च अधिकारीहरू आईपीएसको उद्देश्य र लक्ष्यलाई लिएर सार्वजनिक रूपमै आरोप प्रत्यारोपमा
उत्रिएका छन् ।
दिल्लीमा सम्पन्न ‘रायसिना डायलग’ मा सहभागी रुस र अमेरिकाका उच्च अधिकारीहरूबीच यसै साता जुहारी चलेको हो । बुधबार रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले विद्यमान विश्व व्यवस्थामा अवरोध सिर्जना गर्ने र चीनलाई अलग राख्ने उद्देश्यले ल्याइएको भन्दै आईपीएसको आलोचना गरेका छन् ।
‘आईपीएसको अवधारणा अमेरिका, जापान र अन्य मुलुकको विद्यमान संरचनालाई नयाँ आकार दिने प्रयास मात्र हो,’ रायसिना डायलगमा विशेष सम्बोधन गर्दै लाभरोभले भने । उनले एसिया प्रशान्तका रूपमा चिनिँदै आएको क्षेत्रलाई हिन्द प्रशान्तका रूपमा अगाडि सार्नुको प्रस्ट उद्देश्य चीनलाई अलग राख्नु रहेको दाबीसमेत गरे । ‘कुनै पनि शब्दावली विभाजनकारी नभई जोड्ने खालको हुनुपर्छ,’ उनले भने ।
इन्डो प्यासिफिकको अवधारणा अघि सार्नेहरूले यसलाई बढी लोकतान्त्रिक अवधारणा रहेको दाबी गरे पनि यसको उद्देश्य सही नभएको हुँदा भ्रममा नपर्न र सावधान रहनसमेत उनले सुझाए ।
रुसी विदेशमन्त्रीले आईपीएसको चर्को आलोचना गरेको २४ घण्टा नबित्दै उच्च अमेरिकी अधिकारीले त्यसको बचाउ गरेका छन् । रायसिना डायलगकै एउटा छलफल सत्रमा बोल्दै अमेरिकाका सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार म्याथु पोटिन्गरले आईपीएस विद्यमान क्षेत्रीय संरचना भत्काउनतर्फ लक्षित रहेको भन्ने रुसी विदेशमन्त्रीको आरोपको खण्डन गरे । उनले आईपीएस विधिको शासनको सम्मान गर्ने तथा सामुद्रिक र हवाई क्षेत्रको स्वतन्त्र नेभिगेसनको पक्षमा रहेका मुलुकहरूको समूह लक्षित अवधारणा भएको दाबी गरे । ‘यो खुला र स्वतन्त्र अवधारणा हो । कुनै पनि मुलुकलाई निषेध गर्नेभन्दा पनि प्रत्येक मुलुकबीच रहेको साझा सिद्धान्त र मान्यताको सम्मान र प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रेरित छ,’ पोटिन्गरले भने । उनले उल्टो रुसले आईपीएससँग प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ साँघुरो, कम खुला र लचिलो नभएको युरोसिएन आर्थिक परियोजना अघि सारेको भन्दै आलोचनासमेत गरे । पोटिन्गरले खुला र स्वतन्त्र इन्डो प्यासिफिक क्षेत्रको अवधारणाको समर्थन गर्ने मुलुकहरूसँग शासन केन्द्रित भन्दा पनि नागरिक केन्द्रित दृष्टिकोण रहेकोसमेत दाबी गरे ।
अमेरिकाले अघि सारेको आईपीएसमा जापान, अस्ट्रेलिया र फ्रान्सलगायतका मुलुकले सुरुदेखि नै समर्थन जनाउँदै आएका छन् भने पछिल्लो समय भारत पनि यसको पक्षमा उभिँदै आएको छ । नेपाल भने यसमा तटस्थ रहँदै आएको छ ।
यद्यपि गत वर्ष अमेरिकाको रक्षा मन्त्रालयले जारी गरेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट’ मा नेपाललाई अमेरिकाको ‘इन्डो प्यासिफिक’ सहभागिता कार्यक्रमअन्तर्गत रहेको राष्ट्रका रूपमा चित्रण गरिएको थियो । उक्त प्रतिवेदन सार्वजनिक भएपछि नेपाल सरकारको चर्को आलोचना भएको थियो । त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग रहेको भन्दै प्रतिवेदनको खण्डन गरेका थिए ।

विदेश

दिल्ली बलात्कार काण्ड दोषीको मृत्युदण्ड सर्‍यो

- एजेन्सी

नयाँदिल्ली – प्रख्यात दिल्ली सामूहिक बलात्कार काण्डका दोषी ठहर गरिएका चार जनालाई दिइने मृत्युदण्डको मिति सरेको छ ।
भारतको एउटा अदालतले दिएको आदेशअनुसार अब ती दोषीलाई फेब्रुअरी १ मा मृत्युदण्ड दिइनेछ । यसअघि अदालतले जनवरी २२ मा मृत्युदण्ड दिन भनेको थियो ।
भारतीय कानुनअनुसार मृत्युदण्ड पाएका अभियुक्तले राष्ट्रपतिसमक्ष याचिका गर्न सक्छन् । त्यहीअनुरुप चारमध्ये एकको दया याचिका राष्ट्रपतिसामु विचाराधीन रहेकाले २२ जनवरीमा उनीहरूलाई मृत्युदण्ड दिन सम्भव नभएको दिल्ली सरकारले अदालतसमक्ष बताएको थियो ।
‘निर्भया’ काण्ड भनेर परिचित यस बलात्कार घटनामा सुरुमा ६ जनाविरुद्ध मुद्दा चलाइएको थियो । सन् २०१२ को सो घटना राजधानी दिल्लीस्थित एउटा गुडिरहेको बसमा भएको थियो । बसमा सवार विद्यार्थीलाई ती अभियुक्तले सामूहिक बलात्कारपछि हत्या गरेका थिए । उनको लगभग १५ दिनपछि उपचारकै क्रममा सिंगापुरमा मृत्यु भएको थियो । बलात्कारको यस घटनापछि भारतभर प्रदर्शन भएको थियो भने विश्वभरका सञ्चारमाध्यमले यस घटनालाई प्राथमिकता दिएका थिए ।
अभियुक्त ६ जनामध्ये एकलाई किशोरकिशोरीसम्बन्धी कानुनअनुसार हिरासत केन्द्रमा राखिएको थियो । तीन वर्ष त्यहाँ बसेर उक्त व्यक्ति रिहा भइसकेको छ भने अर्का एक अभियुक्तले जेलमै आत्महत्या गरेको थियो । बाँकी चार जनालाई भने मृत्युदण्डको फैसला भएको थियो ।
यद्यपि मृत्युदण्डको समय परिवर्तन पटकपटक परिवर्तन भएपछि पीडितका आफन्तहरूले दिक्क लागिसकेको बताएका छन् । ‘हाम्री छोरीलाई न्याय दिलाउन हामीले सात वर्ष संघर्ष गरेका छौं । दोषीहरूले मृत्युदण्डको मिति ढिला गर्न हदैसम्मको उपाय लगाइरहेका छन् । उनीहरूलाई नझुन्ड्याइएसम्म हामी सन्तुष्ट हुन सक्दैनौं,’ शुक्रबारको फैसलापछि पीडित विद्यार्थीकी
आमाले सञ्चारकर्मीसँग बताइन् । फेब्रुअरी १ मा पनि उनीहरूलाई मृत्युदण्ड दिइनेछ भन्नेमा आफूहरू ढुक्क नभएको पीडित विद्यार्थीको अभिझावकको आशंका छ ।

विदेश

युत्रेनी प्रधानमन्त्रीको राजीनामा

- एजेन्सी

किभ – युक्रेनका प्रधानमन्त्री ओलेक्सी हनचारुकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भोलोदिमियर जेलेन्स्कीलाई अर्थतन्त्रबारे केही थाहा नभएको भनेर बोलेको टेप सार्वजनिक भएको केही दिनपछि उनको राजीनामा आएको हो ।
‘राष्ट्रपतिका कार्यक्रम लागू गर्न मैले यो पद लिएको थिएँ । पारदर्शिताको उदाहरण उहाँ मप्रति नरम हुनुहुन्छ,’ पद त्यागपछि सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘यद्यपि राष्ट्रपतिप्रति मैले सम्मान र विश्वास नगरेको भने शंका हटाउन लिखित राजीनामा दिएको छु ।’
‘रेकर्डेड सरकारी बैठकका टुक्रा जोडेर’ अपरिचित ‘प्रभाव समूह’ ले आफूलाई राष्ट्रपतिको सम्मान नगर्ने व्यक्तिका रूपमा देखाउन खोजेको हनचारुकले बताएका छन् । भिडियो टेपमा आएको विवरण सत्य नभएको उनको भनाइ छ ।
यसै साताको सुरुवातमा हनचारुकले राष्ट्रपतिले अर्थतन्त्र नबुझेको भन्दै गरेको प्रतिक्रियाको अडियो सार्वजनिक भएको थियो । सो टेपमा उनले जेलेन्स्कीलाई अर्थतन्त्रका मामिलामा ‘साधारण मानिस’ भएको आरोप लगाउँदै उनले राष्ट्रिय मुद्राबारे थप अध्ययन गर्नुपर्ने बताएका थिए ।
टेप सार्वजनिक भएपछि हनचारुक र उनको मन्त्रिपरिषद्ले राष्ट्रपतिको अपमान गरेको भन्दै विपक्षी दल ‘अपोजिसन प्ल्याटफर्म–फर लाइफ’ ले बिहीबार हनचारुकको राजीनामा मागेका थिए । सत्तारूढ ‘सरभेन्ट अफ द पिपल पार्टी’ ले भने उनले राजीनामा दिनुपर्ने कुनै कारण नभएको जिकिर गरेको थियो ।
हनचारुकले पदबाट राजीनामा दिए पनि उनको राजीनामा स्वीकृत गर्ने वा नगर्नेबारे संसद्मा मतदान गर्नुपर्ने हुन्छ । राष्ट्रपति जेलेन्स्कीको कार्यालयले पनि प्रधानमन्त्रीको राजीनामा पत्र प्राप्त भएको र यसबारे छलफल भइरहेको पुष्टि गरेको छ ।

विदेश

ट्रम्पलाई जोकरको संज्ञा

- एजेन्सी

तेहरान – इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘जोकर’ को संज्ञा दिएका छन् ।
राजधानी तेहरानस्थित मोसल्ला मस्जिदबाट शुक्रबार ८ वर्षपछि सार्वजनिक सम्बोधन गरेका खामेनीले इरानका जनतालाई समर्थन गरेजस्तो देखाउने ट्रम्पलाई ‘जोकर’ भनेका हुन् ।
अमेरिकी हवाई हमलामा मारिएका उच्च सैन्य कमान्डर कासिम सुलेमानीको अन्तिम संस्कारमा लाखौं सहभागी हुनुले इरानी जनताले इस्लामिक गणतन्त्रको समर्थन गरिरहेको प्रस्ट भएको सम्बोधनका क्रममा खामेनीले बताए ।
इस्लामिक स्टेट समूहविरुद्धको लडाइँमा अति प्रभावशाली सैन्य नेतृत्व गरेका सुलेमानीलाई अमेरिकाले जनवरी ३ मा ‘कायरतापूर्वक हत्या गरेको’ उनले आरोप लगाए । उनको हत्याको बदलामा इरानले इराकस्थित अमेरिकाका दुई सैन्य आधार शिविरमा कैयौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यद्यपि सो आक्रमणबाट कुनै ठूलो क्षति नभएको वासिङ्टनको दाबी छ । इरानले प्रहार गरेको क्षेप्यास्त्र ‘आफूमात्रै विश्वको शक्ति सम्पन्न राष्ट्र हौं’ भन्ने अमेरिकी इज्जतमा प्रहार भएको उनको भनाइ छ ।
शुक्रबारको प्रार्थनापछि सर्वोच्च नेता खामेनीले विरलै गर्ने सम्बोधनमा अमेरिकालाई मध्यपूर्वबाट फिर्ता पठाएपछि मात्रै ‘वास्तविक सजाय’ दिइएको हुने बताए ।
सम्बोधनका क्रममा उनले देशको शक्तिशाली सेनाको समर्थन पनि गरेका छन् । इराकमा क्षेप्यास्त्र हमला गरेकै युक्रेनी यात्रुवहाक विमानलाई ‘भूलवश’ खसालेको भन्ने इरानी सेनाको भनाइलाई ‘झूटो’ रहेको भन्दै तेहरानमा प्रदर्शन भइरहेकै बेला खामेनीले सेनाको बचाउ गरेका हुन् ।
‘भूलवश’ भएको भनिएको हमलाका कारण युक्रेनी ध्वजाबाहक विमानमा सवार चालक दलसहितका १ सय ७६ जना सबै यात्रुको मृत्यु भएको थियो, जसमा अधिकांश यात्रु इरानकै थिए ।
विमान खसेको तीन दिनसम्म इरानी प्रशासनले प्राविधिक कारणले दुर्घटना भएको भन्दै हमला नगरेको दाबी गरिरहेको थियो । पश्चिमा राष्ट्रले इरानले नै युक्रेनी विमान खसालेकोबारे प्रमाण रहेको बताएपछि मात्रै सेनाले ‘गम्भीर मानवीय त्रुटिका कारण भूलवश विमानमा क्षेप्यास्त्र आक्रमण भएको’ स्वीकार गरेको थियो ।
झूटो बोलेको भन्दै तेहरानलगायतका क्षेत्रमा प्रदर्शन भएपछि सरकारले बल प्रयोग गरेको थियो । शुक्रबारको सम्बोधनमा खामेनीले पनि ‘विमान खसाल्नु एउटा तितो दुर्घटना भएको’ बताएका छन् ।

विदेश

वर्षात्ले केही राहत

- एजेन्सी

सिड्नी – लामो समयदेखि आगलागी र खडेरीसँग जुधिरहेको पूर्वी अस्ट्रेलियामा शुक्रबारको वर्षाले केही राहत दिएको छ । वर्षाका कारण आगलागी भएका केही ठाउँको आगो निभे पनि अझै धेरै ठाउँमा आगो लागिरहेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।
गत सेप्टेम्बरदेखि फैलिएको भीषण आगलागीका कारण अस्ट्रेलियामा हालससम्म २९ जनाको मृत्यु भइसकेको छ भने करोडौं वन्यजन्तु मारिएका छन् । आगोमा जलेर २ हजार ५ सयबढी घर पनि ध्वस्त भएका छन् ।

Page 10
समाचार

झोलामा भेटिने छैनन् खगेन्द्र

उचाइ २ फिट २.४१ इन्च र तौल ६ केजी भएका उनलाई १८ वर्षको हुँदा गिनिज वर्ल्ड रेकर्ड्सले संसारकै होचो व्यक्तिको घोषणा गरेको थियो
- लालप्रसाद शर्मा,दीपक परियार

(पोखरा) - डेढ दशकअघि बागलुङ बजारमा एक अधबैंसे झोलामा मान्छे बोकेर हिँडिरहन्थे । दुधे बालकजस्तै देखिने ती उमेरले खासमा किशोर थिए । घरी बुबाको कोटको खल्तीमा पस्थे । घरी टाउकामा चढ्थे । दक्षिणी बागलुङको धुल्लुबाँस्कोटबाट रूपबहादुरले सदरमुकाम ल्याएपछि छोरा खगेन्द्र थापामगरले विश्वकै ध्यान खिचे । गिनिज वर्ल्ड रेकर्ड्समा विश्वकै होचो पुरुषको रेकर्ड आफ्ना नाममा दर्ता गराए । उनै खगेन्द्र अब रूपबहादुरको झोलामा भेटिनेछैनन् । २८ वर्षको उमेरमा शुक्रबार उनले पोखरामा देह त्यागे ।
मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो । निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । उनलाई दिउँसो ३ बजे मृत घोषणा गरिएको खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले बताए । खगेन्द्रमा यसअघि मुटु, श्वासप्रश्वाससम्बन्धी समस्या, हेमोग्लोबिनको कमी र ह्वाइट ब्लड सेल बढी हुने समस्या देखिएको थियो ।
२०६७ असोज २८ मा उनले गिनिज वर्ल्ड रेकर्ड्सबाट विश्वकै होचो पुरुषको प्रमाणपत्र पाएका थिए । उनको उचाइ ६७.०८ सेन्टिमिटर (२ फिट २.४१ इन्च) थियो । तौल झन्डै ६ केजी । २०४९ असोज २८ मा जन्मिएका उनले गिनिज वर्ल्ड रेकर्ड्सको प्रावधानअनुरूप १८ वर्ष पुगेपछि प्रमाणपत्र पाएका थिए ।
जन्मिँदा उनको तौल जम्मा ६ सय ग्राम थियो, हत्केलामा अट्ने । जन्मेको तीन दिनसम्म आमाको दूध चुस्न सकेनन् । आमाले आफूलाई दूधको थोपा थोपा खुवाएर बचाएको उनी भन्थे ।
७/८ वर्षको भएपछि मात्र उनको तोतेबोली निस्कियो । त्यही बेला चार हातखुट्टाले टेकेर हिँड्न थाले । ११ वर्ष पुगेपछि उनको उचाइ बढ्ने क्रम रोकियो । गाउँलेले उनलाई सानो देखेर ‘भगवान्’ भने । बाँच्ने हो कि होइन भन्ने पीरले आमाबुबा भने चिन्तित थिए । उनको शरीर छोटो मात्र होइन, तौल पनि निकै कम थियो । बोली तोते नै थियो । लवाइखुवाइ, हिँडाइ, खेलाइ सबै ठ्याक्कै दुई–तीन वर्षको बच्चाको जस्तै थियो ।
उनी सानो भएकाले आमाबुबाले झोलामा राखेर हिँड्न थाले । बागलुङ सदरमुकाम आउँदा उनलाई हेर्न सर्वसाधारण झुम्मिन्थे । उनी विभिन्न मेला महोत्सवमा पुग्न थाले । त्यही क्रममा उनी पोखरा आइपुगे । मीनबहादुर रानामगरसँग उनीहरूको भेट भयो । मीनबहादुरले नै खगेन्द्र थापामगर प्रतिष्ठान खोलेर गिनिज बुकमा नाम लेखाउन प्रयास थाले । बेलायतमा रहेको गिनिज वर्ल्ड रेकर्ड्सको प्रधान कार्यालयमा प्रतिष्ठानले आवश्यक प्रक्रिया अघि बढायो । प्रतिष्ठानको प्रयासले २०६७ असोज २८ मा मूर्तरूप पायो । रेकर्ड्सका उपाध्यक्ष मार्को फ्रिगाटीले पोखरा आएरै मेडल र प्रमाणपत्र दिएका थिए ।
उनको वास्तविक उचाइ र तौल पत्ता लगाउन पोखराकै फेवासिटी अस्पतालका बालरोग विशेषज्ञ डा. हुमप्रसाद न्यौपानेले बिहान, दिउँसो र साँझ परीक्षण गरेका थिए । चिकित्सकले गर्भावस्थामा क्रोमोजममा भएको गडबडीले उचाइ र तौल नबढेको हुन सक्ने बताएका थिए ।
वर्ल्ड रेकर्ड्समा नाम दर्ता गराएपछि उनी पोखरा बसेर पढ्न थाले । बुबाआमाले पोखरामै बसेर पसल चलाए । पोखराकै निजी विद्यालयमा पढे पनि उनले निरन्तरता दिन सकेनन् । खगेन्द्रले विश्व रेकर्ड कायम गरेपछि बुबा रूपबहादुर र आमा धनमाया औधी खुसी थिए । सर्वत्र खगेन्द्रको चर्चाले उनीहरूले विगतका दुःख बिर्सिए ।
रेकर्ड रहेपछि सरकारले उनलाई नेपाल पर्यटन वर्ष २०११ का लागि सद्भावना राजदूत घोषणा गरेको थियो । उनी इटाली र बेलायत तीनपल्ट, बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, फ्रान्स, थाइल्यान्ड, अमेरिका, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, जर्मन, दक्षिण कोरिया, हङकङ, कतार र भारत पुगिसकेका थिए । उनी नाच्न, मादल बजाउन र
चुट्किला भन्न रमाइलो मान्थे ।
उनले ताइवानका ली यु चीको रेकर्ड तोडेका थिए । पछि उनको रेकर्ड हंगेरीका इस्तभान तोथ, फिलिपिन्सका जुनरे वालाविङ, भारतका गुल मोहम्मद र नेपालकै चन्द्रबहादुर डाँगीले तोडे । डाँगीको निधन भएपछि फिलिपिन्सका जुनरेका नाममा विश्वकै होचो पुरुषको रेकर्ड छ । उनको उचाइ ५९.९ सेन्टिमिटर छ । उनी हिँड्डुल गर्न सक्दैनन् । हिँड्डुल गर्न सक्ने विश्वकै जीवित पुरुषको रेकर्ड भने खगेन्द्रकै नाममा थियो ।
उनको निधनपछि शनिबारै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शोक वक्तव्य जारी गरी खगेन्द्रप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिबार खगेन्द्रको दाहसंस्कार गरिने प्रतिष्ठानले जनाएको छ ।

समाचार

मन्त्रीका तस्बिरमा जुत्ता प्रहार

- कान्तिपुर संवाददाता

जनकपुर (कास)– गत वर्ष सम्पन्न योजनाको भुक्तानी माग गर्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले जिरो माइलमा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूका तस्बिरमा जुत्ता हाने । घटनामा प्रहरीले उपभोक्ता समिति सम्बद्ध रोशनसिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई नियन्त्रणमा लिएर केही घण्टापछि छाडिदिएको छ ।
मुख्यमन्त्रीको कार्यालय समिति प्रदेशका चार मन्त्रालयका टुक्रे योजनामा गत वर्षको १ अर्ब ३५ करोड रुपैयाँको भुक्तानी रोकिएको भन्दै प्रदेशसभामा पनि बारम्बार सांसदले आवाज उठाउँदै आएका छन् । प्रदेशसभाका सभामुख सरोज यादवको संयोजकत्वमा ती योजनाको वास्तविकता छानबिनका लागि संसदीय समिति गठन भएको थियो । उक्त समितिले स्थलगत अनुगमनपछि ती योजनामातहत काम भएको भनिएकामध्ये ८६ करोड भुक्तानी दिन सकिने प्रतिवेदन दिएको छ ।

समाचार

कैदी भाग्दा दुई प्रहरी निलम्बित

- कान्तिपुर संवाददाता

रौतहट (कास)– रौतहट जिल्ला कारागारबाट १५ वर्षको जेल सजाय भुक्तान गरिरहेका कैदी फरार भएको घटनामा दुई प्रहरी निलम्बनमा परेका छन् । हवलदार नीरजकुमार सिंह र जवान महानन्दप्रसाद यादवलाई जिल्ला प्रहरीले शुक्रबार निलम्बन गरेको हो । कारागारका सई र असइलाई निलम्बनका लागि प्रहरी प्रधान कार्यालयमा लेखी पठाइएको छ । घटनापछि कारागारका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । घटना छानबिन समितिले प्रहरीसहित पाँच जनाविरुद्ध विभागीय कारबाहीको सिफारिस गरेको छ ।
गत पुस २७ को राति गढीमाई–१ का अशोकराय यादव फरार भएका थिए । अपहरण, शरीर बन्धक तथा संगठित अपराध मुद्दामा जेल परेका उनी फेला परेका छैनन् ।

Page 11
अर्थ वाणिज्य

‘आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । ‘आर्टिकल फोर’ अध्ययनका लागि नेपालमा आएको आईएमएफको टोलीले शुक्रबार गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइयो । यो प्रक्षेपण सरकारले गरेको अनुमानभन्दा २.५ प्रतिशत विन्दुले कम हो ।
सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धि प्राप्ति गर्ने लक्ष्य बजेट वक्तव्यमार्फत निर्धारण गरेको छ । सरकारले पुँजीगत (विकास बजेट) खर्च गर्न नसक्दा ६ प्रतिशतमा सीमित हुने आईएमएफको भनाइ छ । हालसम्म पुँजीगत खर्च करिब १५ प्रतिशत हाराहारीमा छ ।
राजनीतिक स्थायित्व, पुनर्निर्माण र विद्युत्को सहज आपूर्ति भए पनि विकास खर्चका कारण वृद्धिदर कम भएको बताइएको छ । लाउरा जस्माइलो नेतृत्वमा आएको आईएमएफको टोलीले अर्थमन्त्री युवराज खतिवडा, गभर्नर चिरञ्जीवी नेपाल र धितोपत्र बोर्ड एवं निजी क्षेत्रका अधिकारीहरूसँग भेट गरी नेपालको वित्तीय अवस्थाबारे जानकारी लिएको थियो ।
सरकारी तथा निजी क्षेत्रका अधिकारीहरूसँगको भेटमा टोलीले वित्तीय संस्थाका केही विकृतिका विषय पनि औंल्याएको थियो । बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याज तिर्नकै लागि थप ऋण दिई खराब कर्जा लुगाउने प्रवृत्ति बढेको आईएमएफको भनाइ छ । बहुसंख्यक बैंक तथा वित्तीय संस्थाले यस्तै काम गर्दै आएकाले समग्र नेपाली बैंकको खराब कर्जा २ प्रतिशतभन्दा कम रहेको आईएमएफको निष्कर्ष छ । ‘आर्टिकल फोर’ अध्ययनका लागि नेपालमा आएको टोलीले सरोकारवालासँगको छलफल र त्यसपछिको विस्तृत विवरणसहितको प्रतिवेदन पछि सार्वजनिक गर्छ । दुई साताअघि नेपाल आएको टोलीले अध्ययन पूरा गरिसकेको जनाएको छ । आईएमएफ टोली आफ्ना सदस्य राष्ट्रमा अध्ययनका लागि हरेक वर्ष जान्छ । टोलीले सदस्य राष्ट्रको वित्तीय नीति, मौद्रिक नीति, वास्तविक क्षेत्र र बाह्य क्षेत्र अर्थात् अर्थतन्त्रका चार वटै क्षेत्रको बृहत् अध्ययन गरी प्रतिवेदन तयार पार्ने गरेको छ ।

अर्थ वाणिज्य

प्रदेश १ लाई स्विस सरकारको १ अर्ब अनुदान

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सहयोग कार्यक्रम कार्यान्वयन गर्नेछ
- देवनारायण साह
स्विट्जरल्यान्ड सरकारले दिएको अनुदान सहयोगसम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर गरिँदै । तस्बिर ः देवनारायण/कान्तिपुर

(मोरङ) - प्रदेश १ सरकारलाई स्विट्जरल्यान्ड सरकारले १ अर्ब रुपैयाँ अनुदान सहयोग दिएको छ । स्विट्जरल्यान्डले ‘प्रदेश सहयोग कार्यक्रम’अन्तर्गत उक्त अनुदान दिएको हो ।
प्रदेश १ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत एलिजाबेथ भन क्याप्लरले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा, मुख्यमन्त्री शेरधन राईलगायत प्रदेश १ सरकारका मन्त्रीहरूको उपस्थिति थियो । प्रदेश सहयोग कार्यक्रमका लागि स्विट्जरल्यान्ड सरकारको १ अर्ब र प्रदेश सरकारको २० करोड रुपैयाँ रहेको प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत प्रदेश सरकारलाई समतामूलक विकास अघि बढाउन तथा सार्वजनिक सेवा प्रवाह गर्न सक्षम बनाउने सम्झौतापत्रमा उल्लेख छ । प्रदेश र स्थानीय सरकारबीच रणनीतिक साझेदारी अभिवृद्धि गर्न सहयोग गर्ने कार्यक्रमको उद्देश्य हो । कार्यक्रमले संस्थागत क्षमता विकासका लागि लक्षित प्राविधिक सहयोग, क्षमता अभिवृद्धि, तालिम, प्रशिक्षणका साथै प्रदेश सरकारको समग्र कार्यान्वयन क्षमता विकास गर्न सघाउने प्रमुख सचिव अधिकारीले बताए । कार्यक्रमअन्तर्गत सूचना प्रविधिको व्यापक प्रयोगसँगै विद्युतीय सुशासन तथा डिजिटल प्रदेशको अवधारणालाई संस्थागत गराउन पनि सघाउ पुग्ने उनको भनाइ छ ।
प्रदेश सहयोग कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यान्वयन गर्नेछ । ‘कार्यक्रमलाई आवश्यक मार्गदर्शनका लागि मुख्यमन्त्री राईको अध्यक्षतामा एक निर्देशक समिति रहनेछ,’ सम्झौतापत्रमा भनिएको छ, ‘समितिका सदस्यमा आर्थिक मामिला तथा योजनामन्त्री, आन्तरिक मामिला तथा कानुनमन्त्री, भौतिक पूर्वाधार विकासमन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रमुख सचिव, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष १/१ जना र स्विस सरकार विकास सहयोगका प्रतिनिधि रहनेछन् ।’ कार्यक्रम संघीयता कार्यान्वयनमा कोसेढुंगा बन्ने मुख्यमन्त्री राईले बताए । ‘प्रदेश १ संघीयता कार्यान्वयनका लागि सबभन्दा पहिले वैदेशिक अनुदान प्राप्त गर्न सफल भएको छ,’ उनले भने, ‘प्रदेशको आवश्यकता पहिचान गरी संघीय सरकारबाट पूर्वसहमति लिई प्राप्त अनुदान सहयोगले प्रदेश सरकारको समग्र क्षमता अभिवृद्धिका लागि ठोस आधार निर्माण भएको छ ।’
प्रदेश सरकारले प्रदेश सहयोग कार्यक्रमको अवधारणापत्र ०७५ साउन १४ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरी कात्तिक १५ मा संघीय सरकारको अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त गरेको थियो । त्यसपछि प्रदेश सरकारले संघीय सरकारमार्फत स्विट्जरल्यान्ड सरकारसँग सहमति गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विस्तृत परियोजना प्रस्ताव तयार गरेको थियो ।

उक्त प्रस्ताव प्रादेशिक मन्त्रिपरिषद्ले ०७५ चैत २१ मा स्वीकृत गरी संघीय सरकारमा पठाएको थियो । संघीय मन्त्रिपरिषद्ले ०७६ मंसिर २३ गते स्वीकृति प्रदान गरेपछि सम्झौता भएको हो । नेपालका लागि
स्विट्जरल्यान्डकी राजदूत क्याप्लरले यो सहयोग नेपालमा संघीयता कार्यान्वयनका लागि प्रभावकारी हुने दाबी गरिन् । ‘यसले प्रदेश सरकारको वैदेशिक सहयोग प्राप्तिको बाटो खुलेको छ,’ उनले भनिन् ।
एमसीसी ग्रान्ट मुलुकको आवश्यकता ः अर्थमन्त्री
यसैबीच अर्थमन्त्री खतिवडाले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गत दिएको अनुदान मुलुकको आवश्यकता र प्राथमिकताका आधारमा स्वीकार गरिएको बताएका छन् । यसमा राजनीतिक विवाद गर्नु आवश्यक नभएको उनको भनाइ छ ।
‘लोकतान्त्रिक व्यवस्थाबाट जनताले गरेको अपेक्षा पूरा गर्नु अहिलेको सरकारको दायित्व हो । मुलुकमा राजस्वको दायरा सीमित रहेकाले विदेशी सहयोग आवश्यक छ,’ खतिवडाले भने, ‘विदेशी सहयोग लिनेमा कहीँकतै राष्ट्रिय सुरक्षा, स्वतन्त्रता र स्वाधीनतामा हस्तक्षेप हुँदैन ।’ विदेशी सहायता दिँदा दातृ निकायले मानव अधिकार, लोकतान्त्रिक, पारदर्शिता, वातावरणजस्ता सर्त राख्ने गरेको खतिवडाले बताए । ‘एमसीसीमा पनि त्यस्तै सर्त छन्,’ उनले भने, ‘अमेरिकाले दिएको अनुदान निश्चित क्षेत्रमा निश्चित समयभित्र कार्यान्वयन गर्ने जस्ता सर्त राखेकाले यसमा अनावश्यक राजनीतिक विवाद गर्नु हुँदैन ।’
अल्पविकससित मुलुकको सूचीमा नेपाल रहेकाले अनुदान पाउने अधिकार पनि भएको उनले प्रस्ट्याए । ‘अहिले नै विदेशी सहायता अस्वीकार गर्दा हतारो र प्रत्युत्पादक हुन जान्छ,’ उनले भने, ‘पर्यावरणलगायत क्षेत्रमा विश्वव्यापी प्रभाव पार्ने देशबाट हामीजस्ता मुलुकले सहयोग लिनुपर्छ ।’

अर्थ वाणिज्य

८ हजार २ सय किलोलिटरको पेट्रोल भण्डारण बनाइने

- राजु चौधरी

(काठमाडौं) - सरकारले भारतीय आयल कर्पोरेसन (आईओसी) सँगको सहकार्यमा थप ८ हजार २ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारण बनाउने भएको छ । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणअन्तर्गत अमलेखगन्जमा भण्डारण बनाउन लागिएको हो । आईओसीले ४ हजार १ सय र नेपाल आयल निगमले ४ हजार १ सय किलोलिटर क्षतमताको
भण्डारण बनाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । भण्डारण निर्माणमा दुवै पक्ष सहमत छन् ।
‘पुस अन्तिम साता नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी जोइन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा पेट्रोलियम ट्यांकका विषयमा अवधारणा र लागत अनुमान गर्ने निर्णय भएको छ,’ नेपालका तर्फबाट बैठकको नेतृत्व गरेका आपूर्ति सहसचिव ध्रुव घिमिरेले भने, ‘अब छिट्टै लागत अध्ययन गर्छौं । ४ हजार १ सय किलोलिटर क्षमताको भण्डारणको लागत आईओसीले बेहोर्छ । अर्को निगमले बनाउँछ ।’
निगमको अहिले डिजेल, पेट्रोल, मटितेल र हवाई इन्धन गरी करिब ७१ हजार २० किलोलिटर इन्धन भण्डारण क्षमता छ । त्यसले पेट्रोल करिब ६ दिन र डिजेल ८ देखि ९ दिनलाई मात्रै पुग्छ । अमलेखगन्जका हकमा पेट्रोलको भण्डारण क्षमता १ हजार ९ सय ३० किलोलिटर मात्रै छ । दैनिक माग भने तीन सय किलोलिटर छ । माग बढ्दै गएकाले भण्डारण आवश्यक भएको अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले बताए । इन्धन भण्डारण निर्माण छिट्टै सुरु हुने उनले जानकारी दिए ।
‘आईओसीका कर्मचारीले जग्गा नापिसकेका छन् । अबको दुई–तीन महिनामा काम अघि बढ्छ,’ उनले भने । निगमलाई ८ हजार २ सय किलोलिटरको भण्डारण बनाउन करिब दुई बिघा जग्गा चाहिन्छ । अमलेखगन्जमा निगमको १० बिघा जग्गा छ । २ हजार ३ सय किलोलिटरको फायरफाइटिङ ट्यांक निर्माण गरिनेछ । उक्त ट्यांकीमा पानी राखिने यादवले बताए । यीबाहेक २४ वटा ‘लोडिङ वे’ पनि निर्माण गरिने निगमले जनाएको छ । ‘यी सबै निर्माणमा आईओसीले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ,’ उनले भने । मन्त्रालयका अनुसार मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन चितवन लोथरसम्म विस्तार गर्न अध्ययन टोली बनाउने सहमति पनि भएको छ । सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा नेपाल–भारत संयुक्त अध्ययन टोली गठन गरी प्राविधिक प्रतिवेदन बनाउनेसमेत निर्णय भएको सहसचिव घिमिरेले बताए । अध्ययन टोलीले तयार पार्ने अध्ययन प्रतिवेदन नेपाल–भारत ज्वाइन्ट वर्किङ ग्रुपमा पेस गरिनेछ ।

झापा र धनुषामा निगमले बनाउने बोटलिङ प्लान्ट निमार्णमा पनि आईओसीले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बोटलिङ प्लान्ट निर्माणका लागि आयल निगमले विस्तृत अवधारणापत्र तयार गरी आईओसीलाई उपलब्ध गराउने सहमति भएको घिमिरेको भनाइ छ । निगमले ६ हजार टन क्षमताको प्लान्टको तयारी गरेको छ । ग्यास प्लान्टको सम्भावयता अध्ययन गर्न निगमले टेन्डर गरिसकेको छ । टेन्डरका क्रममा चीनदेखि इरानसम्मका १३ कम्पनीले प्रस्ताव पेस गरेका छन् । ती कम्पनीको मूल्यांकनमा भने ढिलाइ भएको छ । छानिएका कम्पनीले माटो परीक्षण, वातावरणीय मूल्यांकन, पुनर्वास अध्ययन, फ्रन्ट इन्ड इन्जिनियरिङ डिजाइन, सजावट तयारी, अग्नि सुरक्षा प्रणाली, लागत खर्चलगायतको अध्ययन गर्छन् । अध्ययनको प्रतिवेदनपछि विस्तृत अवधारणा आईओसीलाई पेस गरिनेछ । त्यसकै आधारमा आईओसीले पनि प्राविधिक सहयोग गर्ने जनाएको छ । हाल व्यवसायीबाहेक सरकारसँग ग्यास भण्डारण छैन । सरकारले ग्यास प्लन्ट राख्ने तयारी गरेपछि ग्यास उद्योगीहरूले भने आपत्ति जनाएका छन् ।

Page 12
अर्थ वाणिज्य

उखु बुझाएको दुई सातामै भुक्तानी

- कान्तिपुर संवाददाता

(विराटनगर) - दशकदेखि उखु खेती गर्दै आएका सुनसरी बर्जुका किसान दखाराम चौधरी मिललाई उखु बिक्री गरेको १५ दिन नबित्दै शुक्रबार भुक्तानी पाउँदा गद्गद् भए । उनले घर नजिकको इस्टर्न सुगर मिललाई
पुस १४ देखि २३ गतेसम्म २७१ क्विन्टल उखु बेचेका थिए । त्यसको भुक्तानी चौधरीले मिलबाट एकमुष्ट पाएका हुन् ।
‘विगतका वर्षमा मिलले उखु बेचेको वर्ष दिन बित्दा पनि भुक्तानी नदिएर दुःख दिन्थ्यो,’ उनले भने, ‘गत वर्ष उखु बेचेको तीन महिनामा मिलले भुक्तानी दिएको थियो । यसपालि १५ दिनमै भुक्तानी पाइयो ।’ उनले ९६ हजार १ सय १३ रुपैयाँ पाएका हुन् । बर्जुकै प्रमोद गुरुङले पनि मिलबाट ३२ हजार ७ सय ७३ रुपैयाँ भुक्तानी लिए । उनले पनि मिललाई उखु दिएको १५ दिन पुगेको छैन । यहीँका पुष्पराज गुरुङले पनि शुक्रबार ६८ हजार ५ सय १ रुपैयाँ उखुको भुक्तानी पाए । उनले इस्टर्न सुगर मिललाई पुस १४ देखि २३ गतेसम्ममा २२० क्विन्टल उखु दिएका थिए ।
‘यति छिटो पैसा पाइन्छ भन्ने सोचेकै थिइनँ,’ गुरुङले भने । विगतमा भुक्तानी ढिलो पाउँदा खेती गर्ने रुचि हटेको उनको भनाइ छ । यसपालि मिलले समयमै भुक्तानी दिँदा खेती गर्न थप उत्साह थपिएको उनले बताए । सरकारबाट पाउनुपर्ने गत वर्षको २९१ क्विन्टलको अनुदान भने अझै नपाएको उनको गुनासो छ ।
दखाराम, प्रमोद, पुष्पराज मात्र होइन इस्टर्न सुगर मिललाई उखु बेचेका बर्जुका २० जना किसानले शुक्रबार मिलबाट ९ लाख ६८ हजार रुपैयाँ भुक्तानी पाए । मिलले डेढ सातामा पहिलो चरणमा अढाई सय क्विन्टल उखु क्रसिङ गरिसकेको मिलका नायब महाप्रबन्धक कृष्ण गौतमले जानकारी दिए ।

 

अर्थ वाणिज्य

माथिल्लो कर्णालीले गति लिन सकेन

९ सय मेगावाट क्षमताको आयोजनाको काम सुरू नहुँदै १२ वर्षमा आक्रमणका ८ घटना
- ज्योति कटुवाल
दैलेखस्थित माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउने जिम्मा लिएको कम्पनी जीएमआरको कार्यालय । तस्बिर ः ज्योति/कान्तिपुर

(दैलेख) - माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा लिएको भारतीय कम्पनी जीएमआरले आफ्नो कार्यालयमा बारम्बार आक्रमण हुँदा निर्माणले गति लिन नसकेको जनाएको छ । ९ सय मेगावाट क्षमताको आयोजनाको काम सुरु नहुँदै १२ वर्षमा ८ आक्रमणका घटना भएपछि निर्माणमा समस्या भइरहेको कम्पनीको भनाइ छ ।
आयोजनाको कार्यालयलाई लक्ष्य गर्दै शुक्रबार राति नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले बम विस्फोट गराएका छन् । चन्द समूहका कार्यकर्ताले कार्यालय आसपासका क्षेत्रमा नाराबाजीसमेत गरेका थिए । आफूहरूको समूहले विस्फोट गराएको चन्द समूहका अछाम जिल्ला सेक्रेटरी भरत साउदले स्विकारेका छन् । ०६८ वैशाखमा आयोजनाका कर्मचारी चढेका गाडीलाई लक्ष्य गर्दै बम विस्फोटन गरिएको थियो भने जेठ ८ गते कार्यालयमै आक्रमण गरिएको थियो । ०७२ पुस ६ गते आयोजनाको सुर्खेतस्थित कार्यालय र पुस २१ मा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आक्रमण भयो ।
०७३ वैशाख ११ मा राकमस्थित रामाघाट खोलामा आयोजनाको गाडीमा तोडफोड गरियो भने माघ ११ गते आयोजना प्रमुख केके शर्मा आक्रमणको सिकार बने । शर्मा आयोजनाको कार्यालय डाबमा जाँदै गर्दा अज्ञात समूहले आक्रमणमा गरेको थियो । ०७४ माघ २७ मा आयोजनाको कार्यालयमै लक्ष्य गरी बम विस्फोट हुँदा विभिन्न संरचनामा क्षति पुगेको थियो । आठबिस नगरपालिका–१ का सुजन शाहीले भने निर्माण कम्पनीको लापरबाहीका कारण कामले गति लिन नसकेको बताए । ‘कार्यालय स्थापना भएयता बमकाण्ड दोहोरिइरहेका छन्,’ उनले भने, ‘कम्पनीले त्यसको निहुँमा काम पछि धकेलिरहेको छ ।’ कार्यालयको सुरक्षाका लागि ६० जना सशस्त्र प्रहरीको टोली खटाइएको छ ।
आयोजना निर्माणको जिम्मा पाएको जीएमआरको म्याद थप नभएको दुई वर्षभन्दा बढी भइसकेको छ । वित्तीय व्यवस्थापन गर्न नसक्दा लगानी बोर्डले जीएमआरको म्याद थप नगरेको जनाएको छ । आयोजना निर्माणका लागि ०७१ असोज ३ मा आयोजना विकास सम्झौता (पीडीए) गरिएको थियो । जीएमआरले बंगलादेशसँग विद्युत् खरिद सम्झौता (पीपीए) को पहल गरिरहेको छ । ५ सय मेगावाट विद्युत् खरिद गर्न बंगलादेश तयार रहेको कम्पनीले जनाएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय गृहमन्त्री राजनाथ सिंहको उपस्थितिमा भएको सम्झौताअनुसार ०७७ माघसम्ममा आयोजना निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । जीएमआर एक वर्षयता कार्यस्थलमा छैन ।
आक्रमणको कारण जनाउँदै अन्य कर्मचारीले कार्यालय छाडेपछि पाँच जना कार्यालय सहायकको भरमा परियोजना छ । बीचैमा मुआब्जा प्रक्रिया स्थगन गरेर फर्किएदेखि जीएमआर आयोजनास्थल नआउँदा स्थानीय अन्योलमा छन् । आयोजनाको काम सञ्चालनमा आउने आस नै मरिसकेको डाबकी माया शाहीले बताइन् । ‘आयोजना कहिले बन्छ भन्ने जवाफ कसैले दिँदैनन्,’ उनले भनिन् । एक वर्षअघि जीएमआरले ड्याम साइटमा पर्ने दैलेख र अछामका २२० घरधुरीलाई पहिलो चरणमा १३ करोड ६२ लाख रुपैयाँ मुआब्जा वितरण गरेको थियो । ०७४ असार मसान्तभित्र प्रभावित क्षेत्रको जग्गा खरिद गर्ने सम्झौता भए पनि अहिलेसम्म १५ प्रतिशत मात्रै खरिद भएको छ । जीएमआरले ४८.५९ हेक्टर निजी र २६७.१७ हेक्टर सरकारी जमिन उपयोग गर्न पाउनेछ ।

अर्थ वाणिज्य

मोदी प्रसारण लाइन अन्तिम चरणमा

- कान्तिपुर संवाददाता

पर्वत (कास)– जिल्लाको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने न्यु मोदी र लाहाचोक सबस्टेसन निर्माण सकिन लागेको छ । मोदी गाउँपालिका–२ देउपुरस्थित न्यु मोदी सबस्टेसन र कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेसन निर्माण हुँदै छन् ।
मोदीतर्फको सबस्टेसन ८० र लाहाचोक सबस्टेसन निर्माण ८५ प्रतिशत पूरा भएको छ । देउपुरमा ६३ रोपनी क्षेत्रफलमा सबस्टेसन बनेको आयोजना निर्माण पक्षले जानकारी दिएको छ । मोदीको देउपुरमा निर्माणाधीन १३२ केभी क्षमताको न्यू मोदी सबस्टेसनमा सिभिलतर्फको निर्माण कार्य भने ९५ प्रतिशत सकिएको छ । कन्ट्रोल भवन, आवास गृह, पर्खाल र पहुँच मार्गको काम अन्तिम चरणमा रहेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए । ‘धेरैजसो काम अन्तिम चरणमा पुर्‍याएका छौं,’ उनले भने, ‘इलेक्ट्रिकतर्फको अलि कम हो, त्यो पनि ७५ प्रतिशतभन्दा बढी छ । सिभिलतर्फको फिनिसिङ मात्रै बाँकी छ ।’
आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनतर्फ समुदाय साझेदारी सहयोग कार्यक्रम पनि आयोजनासँगै अघि बढाएको छ । यसअन्तर्गत समुदायको मागअनुसार आयोजनाले पातीखोला नियन्त्रणको काम सकेको छ । पातीखोला कटान नियन्त्रणमा मात्रै करिब ४ करोड लगानी भएको आयोजनाले जनाएको छ । साढे ८ हजार घनमिटर ग्याभिन जाली लगाउन ३ करोड ७५ लाख रुपैयाँ खर्च भएको अग्रवालले बताए । यसले पातीचौर हुँदै देउपुर जाने सडक र पातीचौर बजारलाई सुरक्षित बनाएको मोदी–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाको भनाइ छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बन्दै गरेको लाहाचोक सबस्टेसनमा आवास गृह प्रयोगमा आइसकेको छ । यसमा कन्ट्रोल भवन र स्विच्यार्ड निर्माण सकिएको आयोजनाले जनाएको छ । ट्रान्सफर्मर जडान र केही सामान्य काम मात्रै बाँकी छ । कास्कीको बिजयपुर खोलामा पुलको समस्याका कारण ट्रान्सफर्मर लेखनाथमै रोकिएको आयोजना प्रमुख अग्रवालले बताए । पर्वत कास्कीको सीमा भएर बग्ने मोदीखोला र कास्कीको सेती तथा मर्दीखोलामा उत्पादित विद्युत् पोखरास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

अर्थ वाणिज्य

सिमेन्टमा नयाँ मापदण्ड

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सरकारले ४३ र ५३ ग्रेडका ओपीसी सिमेन्टका लागि छुट्टै नेपाल गुणस्तर मापदण्ड बनाएको छ । ओपीसी सिमेन्टको गुणस्तर पहिचान गर्न गुणस्तर तथा नापतौल विभागले ग्रेड निर्धारण गरेको हो । मापदण्ड शुक्रबार नेपाल गुणस्तर परिषद्को १०२औं बैठकले स्वीकृत गरेको छ । पहिला ३३ ओपीसी सिमेन्टको मात्र नेपाल गुणस्तर मापदण्ड थियो । ओपीसी सिमेन्टको गुणस्तर सुधार गर्न ४३ र ५३ ग्रेड निर्धारण गरिएको विभागले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा सम्पन्न परिषद् बैठकले ब्लक र प्यानलको मापदण्ड पनि स्वीकृत गरेको छ । सबै ओपीसी सिमेन्टको गुणस्तर एउटै भएकाले यसलाई छुट्याउन फरकफरक मापदण्ड तयार पारिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘स्वदेशी सिमेन्ट उद्योगले उत्पादन गरेका ३३ ग्रेडभन्दा माथिका सिमेन्ट बजारमा पाइन्छन् । ती सबै एउटै ग्रेडमा चलिरहेका छन्,’ उनले भने, ‘अब ३३, ४३ र ५३ गरेर तीन वटा सिमेन्टको ग्रेड निर्धारण गरेका छौं । यसले सिमेन्टको गुणस्तर छुट्याउन सघाउँछ ।’

अर्थ वाणिज्य

रिडी मेलामा घरेलु उत्पादन

- कान्तिपुर संवाददाता
रिडी मेलामा बाग्लुङबाट बेच्न ल्याइएका बाँसका डाला किन्दै ग्राहक । तस्बिर ः माधव/कान्तिपुर

(रुरु क्षेत्र) - बाँसका दुई सय नाङ्ला बोकेर रैनादेवी छहरा–६ जुठापौवा पाल्पाका जेनबहादुर खाम्चा रिडी मेला पुगेका छन् । आफूले बुनेकाबाहेक गाउँका अरूले बुनेका पनि खरिद गरेर उनले मेला लगेका हुन् । रिडी बगरमा बेच्न राखिएका तिनै नाङ्ला किन्न अहिले गृहिणीको भीड लागेको छ ।
‘आफैंले मात्र बुनेर कहाँ सकिन्छ छ र ?’ उनले भने, ‘अरूले बुनेका पनि किनेर ल्याएको हुँ ।’ उनी मात्र होइन, जुठापौवाकै देवी सारू पनि आफ्ना र अरूका नाङ्ला किनेर व्यापार गर्न मेलामा पुगेकी छन् । उनले अघिल्लो वर्ष १२५ नाङ्ला बेचेकी थिइन् । यस वर्ष १५० वटा ल्याएकी छन् । ‘अघिल्लो वर्ष एउटा पनि फिर्ता लग्नुपरेको थिएन,’ बिहीबार मेलामा भेटिएकी उनले भनिन्, ‘यस वर्ष व्यापार कस्तो हुने हो ? थाहा छैन ।’
गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखाले रुरु महोत्सव आयोजना गरेको छ । पाल्पाको जुठापौवाबाट मात्र सयभन्दा बढीले नाङ्ला लिएर रिडी मेला आएका छन् । यसबाट उनीहरूको घरखर्च चल्छ । ३ सयदेखि ५ सय रुपैयाँसम्ममा नाङ्ला बिक्री हुन्छन् ।
रिडी मेला घरेलु उत्पादनको प्रदर्शन र बिक्री गर्ने प्रमुख थलो बनेको छ । ‘हामी धेरै मेला डुल्छौं तर रिडीमा जस्तो घरेलु उत्पादनको बिक्री अन्यत्र कमै हुन्छ,’ रेवतीरमण ज्ञवालीले भने, ‘रिडी मेलामा घरेलु उत्पादन किन्न भनेरै मानिस यहाँ आउँछन् ।’ बाँसबाट बुनिएका डोको, डाला, काइँयो, भकारी, ढाकर किन्न धेरै गृहणी रिडी आउने उनले जानकारी दिए ।
बाग्लुङबाट बाँसको डाला लिएर आएका मनबहादुर थापा मगर पनि घरेलु सामग्री बेचेर ३० देखि ५० हजार रुपैयाँसम्म कमाउने सोचमा छन् । उनले ल्याएका डाला ५ सयदेखि ८ सय रुपैयाँसम्मका छन् । मेलामा गुल्मीको उखुबाट बनाएको गुड पनि राखिएको छ । उखुभन्दा पनि गुडको बिक्री राम्रो रहेको थोर्गाका तिलकराम ज्ञवालीले बताए । मेलामा १० टनभन्दा बढी खुदो र गुड बिक्री हुने उनको भनाइ छ ।
रिडी मेलामा पूर्वी रुकुम र जुम्लाबाट ल्याइएका काम्लो, राडीपाखी पनि बिक्रीमा राखिएका छन् । जाडो मौसममा व्यापार राम्रो हुने भएकाले रुकुमबाट काम्लोको व्यापार गर्न टोली नै रिडी आउने गर्छन् । आफूहरूको प्रमुख पेसा र
आर्थिक स्रोत नै काम्लो भएकाले बिक्रीका लागि रुकुमबाट रिडी आएको लालकुमारी बुढा मगरले बताइन् । उनीसहित सय जनाभन्दा बढी मानिस काम्लो लिई यहाँ आएका छन् । उनीहरूले ओखरको घाँजी मात्रै ४० डोको ल्याएका छन् । गुल्मीका कृषि तथा घरेलु उत्पादन पनि मेलामा राखिएको छ ।

अर्थ वाणिज्य

रिचार्जरको बिग सेल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मोबाइल एप रिचार्जरले माघ ६ गते ‘रिचार्जरमा बिग सेल २०२०’ आयोजना गर्ने भएको छ । भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी रिचार्जरले सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउन लागेको हो । ग्राहकले बिगसेलका अवसरमा ६० प्रतिशतसम्म छुट पाउनेछन् । 

अर्थ वाणिज्य

सुरु भयो बिल्डटेक एक्स्पो

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– निर्माण व्यवसाय विकास परिषद्को आयोजनामा शुक्रबारदेखि भक्तपुर सल्लाघारीमा ‘नेपाल बिल्डटेक एक्स्पो २०२०’ सुरु भएको छ । तीनदिने प्रदर्शनीमा निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसम्बन्धी १६० भन्दा बढी स्टल छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मेलाको उद्घाटन गरे । 

अर्थ वाणिज्य

डिस होमको 'र्‍याम्स'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– डिसहोमले २ देखि १२ वर्षसम्मका बालबालिका लागि मनोरञ्जन दिने र्‍याम्स च्यानलमार्फत प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । च्यानलमा बालबालिकाले घरमै बसेर पढ्न र सिक्न सक्ने वातावरणका लागि अंग्रेजी, गणितलगायत विषयका साथै मनोवैज्ञानिक सामग्री प्रसारण गरिने कम्पनीले बताएको छ । 

अर्थ वाणिज्य

भूकम्प सुरक्षामा जगदम्बाको सहकार्य

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ‘भूकम्प सुरक्षा प्रदर्शनी’ कार्यक्रममा जगदम्बा सिमेन्टले सहकार्य गरेको छ । सरकार तथा नेसनल सोसाइटी फर अर्थक्वेक टेक्नोलोजी–नेपाल (एनसेट नेपाल) ले बिहीबारदेखि शनिबारसम्म राष्ट्रिय सभागृहमा आयोजना गरेको प्रदर्शनी कार्यक्रममा कसरी सुरक्षित निर्माण बनाउने भन्नेबारे जानकारी प्रदान गरेको छ । 

अर्थ वाणिज्य

कनेक्ट आईपीएसको १२ अर्ब कारोबार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालन गर्दै आएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भएको मासिक कारोबार पुसमा १२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । एनसीएचएलका लागि ०७५ वैशाखबाट प्रारम्भिक सञ्चालनमा आएदेखि पुसमा सबैभन्दा बढी कारोबार भएको छ । चालु आवको पुस अन्तिमसम्मको कारोबार ४२ अर्ब रुपैयाँ बराबर रहेको कम्पनीले बताएको छ । कनेक्ट आईपीएसअन्तर्गत अनलाइन फन्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड, बिल भुक्तानीलगायत सुविधा उपलब्ध छन् ।

Page 13
अर्थ वाणिज्य

तीन नेपाली महिलाको मृत्यु

यूएईको बस दुर्घटना
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित शेख जायद विन सुल्तान सडकमा बिहीबार बिहान भएको बस दुर्घटनामा तीन नेपाली महिलासहित ६ जनाको ज्यान गएको छ । दुर्घटनामा घाइते १३ जना नेपाली महिलाको अस्पतालमा उपचार भइरहेको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार झापाकी कृष्णकुमारी अधिकारी, बाराकी अमिसा मोक्तान र प्यूठानकी भावना कुँवरको मृत्यु भएको हो । दुर्घटनामा पाकिस्तानी ड्राइभर, एक अफ्रिकी र एक श्रीलंकाली महिलाको मृत्यु भएको हो । 

नेपाली महिला कामदार बोकेको एमबीएम कम्पनीको मिनिबस लरीको पछाडिको भागमा ठोकिँदा दुर्घटना भएको हो । आबुधाबी प्रहरीले सार्वजनिक गरेको भिडियोअनुसार तीव्र गतिमा गइरहेको कारले एक्कासि आफ्नो साइड परिवर्तन गर्दा आफ्नो लाइनमा गुडिरहेको लरी ट्रकमा ठोक्किएको देखिन्छ । हुस्सुका कारण अगाडि नदेखिँदा बस लरी ट्रकमा गएर ठोक्किएको जनाइएको छ । बसमा सवार सफाइ कामदारहरू काममा जाने क्रममा दुर्घटनामा परेका हुन् ।
दूतावासका अनुसार बसमा रहेकामध्ये १६ जना नेपाली महिला घाइते भएका छन् । तीन जना सामान्य उपचारपछि कम्पनीको क्याम्पमा फर्किसकेका छन् । तीन जनालाई आईसीयूमा राखिएको छ ।
दूतावासकी प्रवक्ता रीता धितालले १३ जनाको माफ्राक, एनएमसी र अलरहा अस्पतालमा उपचार भइरहेको जानकारी दिइन् । उनका अनुसार पालुङ मकवानपुरकी रीता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, खुदुनाबारी झापाकी मुना राना, घोराही, दाङकी आशा घर्ती मगर र ठेगाना खुलेकी सुजला विश्वकर्माको माफ्राक अस्पतालमा उपचार भइरहेको छ । माया तामाङ र इलामकी सीता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ भने हेटौंडाकी मीना थिङ, नुवाकोटकी सरीता तामाङ, धरानकी वर्षा विश्वकर्माको अलरहा अस्पतालमा उपचार जारी छ ।

अर्थ वाणिज्य

आत्महत्यालाई सहज ठानियो

- कान्तिपुर संवाददाता
मीना उप्रेती, समाजशास्त्री

 

हरेक आत्महत्याका पछाडि भिन्न कारण हुन सक्छ । साझा समस्या भनेको सहनशीलताको अभाव हो । साना सन्तानलाई मार्ने वा मर्न प्रेरित गर्ने घटना अझ विस्मयकारी हुन्छ । अहिलेको पुस्तामा सहने शक्ति कम छ, अप्ठ्यारो स्थिति सामना गर्न सक्दैनन् । दुःख परेपछि भागिहाल्छन् । यो हाम्रो हुर्काई पद्धतिमै समस्या छ । सुखबारे बुझाइन्छ तर संकटसँग लड्ने मनोबल विकास गरिन्न ।
सामूहिक आत्महत्याको एउटा कारण आक्रोश पनि हो । सुरुमा दुवै मर्नेमा सहमत हँदैनन् । समस्या आउनुमा एकअर्कालाई दोष लगाउँछन् । तार्किक निचोडमा नपुगेपछि एउटाले मर्छु भनेर तर्साउँछ, अर्काले लौ म पनि मरिदिन्छु भन्छ । उनीहरूमा बच्चालाई पनि आफूसँगै आत्महत्या गराउनुपर्छ, त्यसो गर्दा न्याय हुन्छ, नत्र पाप लाग्छ भन्ने मानसिकता विकास हुन्छ । संघर्ष होइन, मरणको बाटो रोज्छन् । एकदमै डरलाग्दो पक्ष त के भने आत्महत्या सामान्य लाग्न थालेको छ । थोरै तलमाथि केही भयो कि ‘मर्छु’ भनेर धम्काइहाल्छन् । हरेकले आफ्नो हैसियतअनुसार अगाडि बढ्ने हो भने निराशाको वीजारोपण हुँदैन । परिवार र समाजले त्यस्तो माहोल निर्माण गरिदिनुपर्छ । जीवनप्रति प्रेम जगाउनुपर्छ । एक्लोपना र भौतिकवादी सोचले पनि आत्महत्यामा प्रेरित गर्छ ।

Page 14
अर्थ वाणिज्य

मन्दिरको २००० रोपनी व्यक्तिका नाममा

डेढ दर्जन मन्दिरअन्तर्गतका एक हजार १६ रोपनी राजगुठी र एक हजार रोपनीभन्दा बढी निजी गुठीको जग्गा बिक्री गरी घडेरी बनाइादै
- कान्तिपुर संवाददाता
सल्यानको रुद्रेस्वर महादेव शीतलपाटीमा रहेको गुठीको जग्गा रैकरमा परिणत गरी बिक्री गरिएपछि बनाइएका घर । तस्बिर ः विप्लव/कान्तिपुर

(सल्यान) - शारदा नगरपालिका–१ स्थित रुद्रेश्वर महादेवको गुठीको ८७ रोपनी जग्गा मोहीका रूपमा रहेका दर्जन व्यक्तिले २० वर्षपहिले रैकरमा परिणत गरे । त्यो जग्गा अहिले धमाधम घडेरीका रूपमा बिक्री भइरहेको छ । बन्गाडकुपिण्डे नगरपालिका–१, देवस्थलस्थित कृष्ण मन्दिरको ५७ रोपनी खेत पनि लामो समयदेखि स्थानीयकै कब्जामा छ । अहिले कृष्ण मन्दिर एक रोपनी जग्गामा सीमित बनेको छ । कालीमाटी गाउँपालिकाको रामपुरस्थित गंगामाला भगवती मन्दिरको जग्गामा सिंगै गाउँ बसिसकेको छ ।
यी तीनवटा मात्र होइनन्, जिल्लाका अधिकतर मन्दिरका नाममा रहेका गुठी जग्गा व्यक्तिको कब्जामा छन् । प्राचीन महत्त्वका मन्दिर क्षेत्र घरैघरले भरिएका छन् । जिल्लामा रहेका डेढ दर्जन मन्दिरअन्तर्गतका एक हजार १६ रोपनी राजगुठी र एक हजार रोपनीभन्दा बढी निजी गुठीको जग्गा व्यक्तिका नाममा रहेको सरकारी तथ्यांक छ । गुठी संस्थानका अनुसार दुई हजार ३४ रोपनी गुठी जग्गा मोही र पुजारीले आफ्नो नाममा बनाएर बेचिसकेका छन् । राजगुठीमा सिद्धभगवन्त, रुद्रेश्वर, कालिका, भैरवी, बराह मौजेघर देवता, दक्षिणकालिका पूजागुठी र निजीमा भुवनेश्वरी, लक्ष्मीनारायण भैरव, पञ्चली, रतननाथ, बेरामाई, पितृदेवता, र्‍याले पौवा, रिमका तीनपौवा गुठी छन् ।
गुठी संस्थान ऐन, २०३३ को संविधानसँग बाझिने प्रावधानका कारण गुठीको जग्गा व्यक्तिका नाममा गएको हो । ऐनको दफा २५ (२) को खण्ड (ग) मा संस्थानले ‘गुठी रैतानी जग्गामध्ये ऐलानी बाँझो जग्गा तोकिएको सर्त राखी गुठी रैतानी नम्बरी जग्गामा परिणत गरी दर्ता गरिदिने’ व्यवस्था छ । त्यही ऐनको दफा ३६ मा ‘गुठी जग्गा कमाउने दर्तावाला मोहीले सो जग्गा गुठी रैतानी नम्बरी जग्गामा परिणत गरी तोकिएको रकम संस्थानमा बुझाएर निजको नाममा दर्ता गरिदिने’ व्यवस्था छ । सर्वोच्चले ऐन लागू भएको ३१ वर्षपछि उक्त प्रावधान खारेज गरे पनि व्यक्तिका नाममा नामसारी भइसकेको जग्गा फिर्ता ल्याउन कानुनी जटिलता देखिएको छ ।
खैराबाङ भगवती मन्दिरका नाममा सल्यान र रोल्पाको बुढागाउँमा रहेको जग्गा व्यक्तिकै कब्जामा छ । भुवनेश्वरी गुठीका नाममा रहेको मन्दिरको पाँच सय २८ रोपनी जग्गा स्थानीयले रैकरमा परिणत गरेका छन् । केही जग्गा द्वन्द्वको समयमा माओवादीले कब्जा गरे । अहिले मन्दिरका नाममा लान्तीमा ६ रोपनी र मन्दिर आसपास २२ रोपनी बाँकी छ । मन्दिर संरक्षण समितिका अध्यक्ष छविकुमार शर्माले रोल्पाको बुढागाउँमा रहेको सबै जग्गा रैकरमा परिणत भइसकेको बताए । लान्तीमा ६ रोपनी खेत भए पनि लालपुर्जा नभएको उनले जनाए । तत्कालीन माओवादीले सशस्त्र द्वन्द्वका बेला स्थानीय गणेश भारतीलाई दिएको उक्त जग्गा तीन वर्षअघि फिर्ता भएको थियो ।
जिल्ला मालपोत कार्यालयका अनुसार छत्रेश्वरी मन्दिरको सिद्धभगवन्तनाथ गुठीको नौ सय ७१ मध्ये नौ सय दुई, खैराबाङ भगवतीको भुवनेश्वरीदेवी गुठीको पाँच सय ५७ मध्ये पाँच सय २८, रुद्रेश्वर महादेवको एक सय चारमध्ये ८७ रोपनी जग्गा व्यक्तिका नाममा गइसकेको छ । त्यस्तै पञ्चली भैरवी गुठीको १२ रोपनीमध्ये आठ, कृष्ण मन्दिरको ५७, गंगामाला भगवती मन्दिरको ३०, लक्ष्मीनारायण गुठीको १४ र लक्ष्मीनारायण भैरव गुठीको सात रोपनी जग्गा रैकरमा परिणत भएको छ । कुमाख गाउँपालिकास्थित रतननाथ गुठीको ३२, छायाक्षेत्रको पौवा गुठीको ६, बेरानाथमाई गुठीको सात, सिद्ध भगवन्तनाथको ६ र प्रीतिदेवता गुठीको १० रोपनी जग्गा व्यक्तिले उपभोग गरिरहेका छन् । र्‍याले पौवा गुठीको ३१, दार्माको कोटस्थित भगवती मन्दिरको ४०, भद्रकालीको १० र कालिका मन्दिरको २५ रोपनी जग्गा पनि व्यक्तिको नाममा गएको वर्षौं बित्यो । अधिकतर मन्दिर जीर्ण बन्दै गएका छन् । स्थानीय तहले संरक्षणमा ध्यान नदिँदा अतिक्रमण रोकिएको छैन ।
रुद्रेश्वर महादेवको जग्गामा केही दशकअघि शीतलपाटीका राई समुदायले खेती गर्ने गरेका थिए । ६५ वर्षीय शेरबहादुर खत्रीका अनुसार शिवजन माविदेखि बसपार्क र टाउन प्लानिङसम्मको जग्गा मन्दिरको गुठीको हो । ‘अहिले सबैमा घर बनिसकेका छन्,’ उनले भने, ‘मन्दिर कम्पाउन्डभित्रको बेलपत्रको रूखसमेत व्यक्तिका नाममा पास भएको छ ।’ संरक्षण समितिको दबाबपछि अहिले बेलपत्रको रूख स्थानीयले छाडेको उनी बताउँछन् । अहिले मन्दिर साँघुरो कम्पाउन्डमा सीमित भएको छ । मन्दिरमा पूजाआजा गर्न पुजारी र साधु बस्न बनाएका घर मात्र बाँकी रहेको स्थानीयको गुनासो छ ।
बन्गाडकुपिण्डे नगरपालिका–१ स्थित कृष्ण मन्दिरको बासकोटमा १७ रोपनी खेत र ४० रोपनी पाखो थियो । मन्दिरअगाडिको प्रभाकर मावि, स्वास्थ्यचौकी र नगरपालिकाले अधिकांश जग्गा अतिक्रमण गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । अन्य जग्गा मन्दिरका तत्कालीन पुजारी नन्दकिशोर उपाध्यायले ०४८ सालमा आफ्नो नाममा बनाएर बिक्री गरेको स्थानीयको गुनासो छ । ०२५ सालदेखि पुजारी रहेका उपाध्यायको मृत्युपछि मन्दिर पुजारीविहीन छ । स्थानीय पुरनसिंह विष्टले मन्दिरमा रहेका कृष्ण, राधा र रुक्मिणीका प्राचीन महत्त्वका मूर्ति, सुनको बाँसुरी, औंठीलगायत सामग्री हराइसकेको जनाए ।कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले रामपुरस्थित गंगामाला भगवती मन्दिरको जग्गा टाढाबाठाले आफ्नो नाममा गराएर उपभोग गरिरहेको बताए । जग्गा कति हो भन्ने यकिन नभएकाले खोजी नगरिएको उनी बताउँछन् ।
गुठी संस्थान ऐन, ०३३ मा मोहीले तोकिएको दस्तुर बुझाएर रैतान नम्बरी
(आफ्नो नाममा पास) गर्न पाउने व्यवस्थामा टेकेर अधिकतर मोहीले ०४१ सालमा जग्गा
आफ्नो बनाएको मालपोत कार्यालयका मोठ प्रमुख हुर्मतबहादुर हमाल बताउँछन् । उनका अनुसार ०३८ मा सिद्धभगवन्त नाथ गुठी र ०५६ मा रुद्रेश्वर महादेव शीतलपाटी गुठीसहित अन्य गुठीको जग्गा रैकरमा परिणत गरेको पाइएको छ । गुठीको जग्गा अहिले निर्बाध रूपमा बिक्री र अंशबन्डा भइरहेको उनले जानकारी दिए । ‘कतिपय जग्गा ४/५ पल्टसमेत नामसारी भइसकेका छन्,’ उनले भने ।
गुठी संस्थान ऐनको उक्त व्यवस्था कार्यान्वयन गर्न सर्वोच्च अदालतले ०६४ माघ १० मा रोक लगाएको थियो । सर्वोच्चको उक्त फैसलामा गुठी संस्थान ऐनका उल्लिखित प्रावधानहरूले संस्कृतिको संरक्षण र संवर्द्धन तथा धार्मिकस्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने संविधान प्रदत्त हकमै आघात पुग्न जाने देखिएको उल्लेख छ । सर्वोच्चले अगाडि भइसकेका कामकारबाहीलाई प्रतिकूल असर पर्न जाने हुँदा फैसलाभन्दा अगाडि भएगरेका कामकारबाही प्रभावित नहुने फैसला गरेको छ । ‘ऐन लागू भएको वा अमान्य घोषित गरिएको (फैसला भएको), जुनसुकै मितिबाट गर्न सक्ने असाधारण अधिकार यस अदालतलाई रहेको भए पनि प्रारम्भदेखि अमान्य घोषित गर्दा अगाडि भइसकेका कामकारबाहीलाई समेत प्रतिकूल असर पर्ने हुँदा आजका मितिदेखि ऐनका उल्लिखित दफा तथा तत्कालीन श्री ५ को सरकारका उल्लिखित आदेशहरू समेत अमान्य र बदर घोषित गरिएको छ,’ फैसलामा भनिएको छ । गुठी संस्थान काठमाडौंका प्रमुख सरोज थपलियाले ऐनअनुसार नामसारी भएको र सर्वोच्चले समेत ती कार्य प्रभावित नहुने भनेकाले फिर्ता ल्याउन गाह्रो भएको बताए ।
सर्वोच्चको फैसला आउनुअघि लक्ष्मीनारायण भैरव गुठीका मोही भैरवप्रसाद उपाध्यायले भोगचलन गरिरहेको जग्गा रैकर गरिपाऊँ भनी ०५८ असोज २९ मा गुठी संस्थानमा पठाएको पत्र फिर्ता भएको थियो । जग्गाअनुसारको मूल्य दस्तुर बुझाएर रैकरमा परिणत हुन नसकी फिर्ता आएको यो एक मात्र घटना भएको मालपोत कार्यालयले जनाएको छ । फाँट प्रमुख हमालका अनुसार सर्वोच्चमा त्यससम्बन्धी मुद्दा चलिरहेको भन्दै संस्थानले ०६१ चैत २६ मा पत्र फिर्ता पठाएको थियो ।
सल्यानमा १० गुठी छन् । ती गुठीअन्तर्गत १ हजार १ सय ६७ रोपनी जग्गा रहेकामा १ हजार १६ रोपनी रैतान नम्बरी तथा रैकरमा परिणत भएको गुठी संस्थानका प्रमुख थपलियाले बताए । त्यसमध्ये १ सय ५१ रोपनी मोही लागेको लगत रहेका जग्गा फिर्ता नहुने उनी बताउँछन् । प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानेले सरकारले नै रैकरमा परिणत गर्ने अधिकार मोहीलाई दिएकाले गुठीको जग्गा फिर्ता ल्याउन समस्या हुने जनाए । अन्य अतिक्रमित जग्गाबारे कार्यालयले अनुसन्धान गरिरहेको उनको भनाइ छ । अधिवक्ता चन्द्रप्रकाश वली गुठीको जग्गा व्यक्तिका नाममा गर्नु न्यायसंगत नभएको बताउँछन् । कानुनी प्रक्रिया पुर्‍याएर व्यक्तिको कब्जाबाट फिर्ता गर्नुपर्ने उनको भनाइ छ । राजगुठीलाई व्यक्तिका नाममा नभई समिति बनाएर सरकारले उपयोग गर्नुपर्ने उनले बताए ।

अर्थ वाणिज्य

सत्य निरूपण ऐन संशोधन गरिने

- कान्तिपुर संवाददाता

(काठमाडौं) - सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन गर्न शीर्ष नेताहरू सहमत भएका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रबार भएको छलफलमा ऐन संशोधन गर्ने सहमति जुटेको हो ।
छलफलमा संक्रमणकालीन न्यायका सम्बन्धमा काम गर्दै आएका नेकपा र कांग्रेसका नेताहरू सुवास नेम्वाङ, खिमलाल देवकोटा, मीनेन्द्र रिजाललगायत पनि सहभागी थिए । रिजालका अनुसार बालुवाटारमा शुक्रबार डेढ घण्टासम्म चलेको बैठकमा पीडितहरूसँग गत सोमबार भएको परामर्शबारे प्रधानमन्त्री तथा शीर्ष नेताहरूलाई ‘ब्रिफिङ’ गरिएको थियो । ‘शनिबार सिफारिस समितिको बैठक पनि बस्दै छ,’ ओलीको भनाइ उद्धृत गर्दै रिजालले भने, ‘समितिले पदाधिकारीको नाम सिफारिस गर्‍यो भने तुरुन्तै दुवै आयोग गठन गर्नुपर्छ ।’
सर्वोच्च अदालतको फैसलाअनुरूप सत्य निरूपण ऐन संशोधन गर्नुपर्ने अवस्था छ । हत्या, अपहरण, बलात्कार र व्यक्ति बेपत्ता पार्ने काम मानव अधिकारको गम्भीर उल्लंघन भएकाले तिनलाई कुनै हालतमा आममाफी दिन नहुने गरी ऐन संशोधन गर्न सर्वोच्चले २०७१ फागुन १४ मा सरकारलाई आदेश गरेको थियो । राजनीतिक सहमतिका आधारमा ल्याइएका ऐनका प्रावधानले दोषीलाई उन्मुक्ति दिने व्यवस्था गरेको भन्दै त्यसविरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशहरू कल्याण श्रेष्ठ, वैद्यनाथ उपाध्याय र चोलेन्द्रशमशेर जबराको विशेष इजलासले उक्त ऐनको दफा २६ को उपदफा २ र दफा २९ को उपदफा १ लाई खारेजसमेत गरिदिएको थियो । दफा २६ (२) मा क्षमादानको प्रावधान छ भने दफा २९ (१) मा मानव अधिकार उल्लंघनका दोषीलाई मुद्दा चलाउन सरकारले ‘महान्यायाधिवक्तासमक्ष लेखिपठाउनुपर्ने उल्लेख छ ।
ॅदाहालले आयोगमा बयान दिने हो ?’
मानव अधिकारवादी अभियन्ता तथा नागरिक समाजका अगुवाले सशस्त्र द्वन्द्वका समयमा मारिएका १७ हजारमध्ये ५ हजारको मात्रै जिम्मा लिन्छु भन्ने पूर्वमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको आलोचना गरेका छन् ।
‘उहाँले यो कुरा टुँडिखेलमा उभिएर भन्ने होइन, सत्य निरूपण तथा मेलमिलाप आयोगले बयानका लागि बोलाएका बेला भन्ने हो,’ पूर्वसभामुख दमननाथ ढुंगानाले भने, ‘उहाँलाई राष्ट्रिय कानुन रोज्ने कि अन्तर्राष्ट्रिय भन्ने मात्रै छुट छ, न्यायलाई छल्ने छुट छैन ।’
२०५८ माघ ३ गते तत्कालीन विद्रोही माओवादीद्वारा मारिएका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको १८ औं स्मृति दिवसका क्रममा शुक्रबार आयोजित कार्यक्रममा ढुंगानाले सत्य निरूपण तथा मेलमिलाप आयोग अविलम्ब गठन गर्न पनि आग्रह गरे ।
पत्रकार कनकमणि दीक्षित, अधिकारीपुत्र सुमनलगायतका द्वन्द्वपीडितले पनि दाहालको उक्त भनाइको आलोचना गर्दै कानुनको दायरामा आएर द्वन्द्वकालका ज्यादतीको हिसाबकिताब हुनुपर्ने बताए ।

Page 15
खेलकुद

कहाँ चुक्यो मछिन्द्र ?

हिमालयन शेर्पा २–० मछिन्द्र
- राजु घिसिङ
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार मछिन्द्रका तीन खेलाडीलाई जिल्याउँदै हिमालयन शेर्पाका विनोद गुरुङ बल अघि बढाउँदै । तस्बिर ः हेमन्त श्रेष्ठ/कान्तिपुर

(काठमाडौं) - मछिन्द्रको लागि शुक्रबारको बिहानी नै शुभ भएन । टोलीका अधिकांश खेलाडी त्रिपुरश्वरकै होटलमा बस्छन्, उनीहरू करिब १ सय मिटर हिडेरै दशरथ रंगशाला प्रवेश गर्छन्, खेल्छन् । हिमालयन शेर्पाको टिम भने अभ्यास गर्ने मैदानको खोजीमा धुलिखेलमै बसेको छ । त्यहींबाट झन्डै २ घण्टाको बस यात्रापछि हिमालयन शेर्पा मैदानमा ओर्लने गर्दछ । अघिल्लो दिनदेखि निरन्तर परेको वर्षाले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार मछिन्द्रविरुद्ध हिमालयनको दशरथ रंगशालामा तय खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारियो । मछिन्द्रका लागि मैदानको दूरी बढ्यो, बस नै चढ्नुपर्‍यो । हिमालयन शेर्पालाई भने बाटो छोटियो ।
छोटिएको बाटो र माघे झरीबीच हिमालयन शेर्पाले शीर्षस्थानको मछिन्द्रलाई सातदोबाटोको ‘अर्टिफिसयल टर्फ’ मा २–० ले स्तब्ध पार्‍यो । यससँगै हिमालयन शेर्पाले यो लिगमा पहिलो जित रच्ने क्रममा मछिन्द्रको अपराजित यात्रालाई सातौं चरणमा आएर पूर्णविराम लगाइदियो । यसअघि एक गोलमात्रै गरेको हिमालयन शेर्पा थप गोलका लागि मछिन्द्रकै सामना गर्नुपर्‍यो । हरेक खेलमा गोल गर्दै आएको मछिन्द्रको त्यो क्रम सातौं खेलमा आएर रोकियो ।
विनोद गुरुङको क्रसमा मछिन्द्रका डिफेन्डर पिटर सेगुनले पहिलो मिनेटमै आत्मघाती गोल गरेपछि हिमालयन शेर्पाले अनपेक्षित अग्रता लियो । सेगुनले हेडद्वारा ‘फ्लिक’ गरेको बल आफ्नै पोस्टमा जाली चुमेको थियो । अर्को गोलमा पनि सेगुनको ‘योगदान’ रह्यो । मैदानको मध्यभागबाट नीरज बस्नेतले प्रहार गरेको फ्रि–किकमा विजय श्रेष्ठले हेडद्वारा प्रहार गरेको बल सेगुनकै टाउकोमा लाग्दै गोलमा परिणत भएपछि २० औं मिनेटमै हिमालयन शेर्पाले २–० को अग्रता लियो ।
हिमालयन शेर्पाले दोस्रो खेलमा एपीएफविरुद्ध १–१ को नतिजा निकालेको थियो । त्यसमा त्रिदेव गुरुङले ४७ औं मिनेटमा गोल गरेका थिए । त्यसयता हिमालयनले पहिलोपल्ट गोल गरेको हो । उनै त्रिदेवले २६ औं मिनेटमा प्रहार गरेको बल आन्द्रेस निआले नरोकेको भए हिमालयनले अझै ठूलो अग्रता लिन सक्थ्यो । क्यामरुनी फरवार्ड स्टेफेन निलम्बनमा रहे पनि हिमालयनले उनको अभाव खट्कन दिएन । टोलीले सुधारिएको खेल पस्कियो, जुझारु प्रदर्शन गर्‍यो ।
छैटौं चरणसम्म सबैभन्दा बढी १० गोल गर्ने गर्ने क्लब हो मछिन्द्र । हिमालयन शेर्पा पुछारमा रहेको सरस्वतीसँगै सबैभन्दा कम १ गोल गर्ने क्लब रहेको थियो । यो सबै हिसाब सातौं चरणको पहिलो खेलमै फेरियो । पहिलोपल्ट च्याम्पियन बन्ने लक्ष्य बनाएको मछिन्द्र कहाँ चुक्यो त ?
‘लिगको सुरुदेखि नै हामीले प्रत्येक खेलमा पाएको मौकामा गोल गर्न सकेको छैन,’ यो लिगमा पहिलो हारपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘झन सुरुमै गोल खाएपछि हामीलाई गाह्रो भयो । दोस्रो हाफमा पाएको मौकामा चुक्नु दुर्भाग्य भयो ।’ मनाङ मर्स्याङ्दी र थ्रीस्टारका नाम चलेका खेलाडीहरूलाई भित्र्याएको मछिन्द्रको समस्या नै ‘स्कोरिङ’ मा हो । यसलाई उसले सातौं खेलसम्म आइपुग्दा पनि सुधार गर्न सकेको देखिएन । प्रशिक्षक कटुवालले भने, ‘सेन्टर फरवार्ड रेजिन सुब्बालाई खेलाएको हो । उनलाई अभिषेक (रिजाल), सुजल (श्रेष्ठ), एडेलाजा सोमिडेसँग वान–टु गर्दै खेल्ने सिकाएका थिए । तर, उनी धेरै बाहिर (पेनाल्टी क्षेत्र पछाडि) आएर खेलिदिए । उनले सेन्टर फरवार्डको भूमिकामा खेल्न नसक्दा गाह्रो भयो ।’
निलम्बनको पीडा
मनाङविरुद्ध २–२ मा टुंगिएको खेलपछि भएको झगडामा संलग्न डिफेन्डर देवेन्द्र तामाङ, विजय धिमाल र दीपक राई २–२ खेल निलम्बनमा परेका थिए । उनीहरूमाथि कारबाहीको अन्तिम खेल हो हिमालयनसँग । मिडफिल्डर हेमन गुरुङ अस्ट्रेलियामा छन् ।
‘यी चार खेलाडी हुँदा वैकल्पिक पनि राम्रो थियो । उनीहरू नहुँदा गाह्रो भयो,’ उनले भने, ‘निलम्बनमा परेका तीन खेलाडी अर्को खेलमा फर्कने छन् । त्यसैले पुलिसविरुद्ध पक्कै राम्रो हुनेछ ।’ देवेन्द्र नहुँदा उनले मिडफिल्डर आन्द्रेस निआलाई सेन्टरब्याकमा खेलाए । निआले राम्रै खेले पनि पिटर सेगुन फिक्का देखिए र त्यसको मूल्य मछिन्द्रले हिमालयन शेर्पासँग चुकाउनुपर्‍यो । ‘डिफेन्समा देवेन्द्र नहुँदा पिटरले सुरुबाटै मन दिएर खेलेजस्तो देखिएन । त्यो महत्त्वपूर्ण हुन्छ । सुरुमा सहज रूपमा लिँदा गर्दा गोल खायो,’ उनले भने ।
प्रशिक्षक कटुवालले हिमालयन शेर्पाको प्रदर्शनको प्रशंसा पनि गरे, ‘उसले पहिलाभन्दा राम्रो खेल्यो । उनीहरूलाई जित्नैपर्ने थियो, हार्दा पनि खासै थिएन, एउटा राम्रो टिमसँग हार्‍यो भन्ने हुन्थ्यो, त्यो भएर पनि राम्रो खेल्यो । मछिन्द्रले भन्दा एकदम राम्रो खेल्यो ।’ मछिन्द्र र एक खेल कम खेलेको आर्मीको १३–१३ अंक छ । आर्मी सोमबार च्यासलसँग कम्तीमा बराबरी नतिजा निकाल्दै शीर्षस्थानमा पुग्नसक्छ । मछिन्द्रको हारसँगै एक्लो अपराजित बनेको डिफेन्डिङ च्याम्पियन मनाङ (१२ अंक) पनि शनिबार थ्रीस्टारलाई पन्छाउँदै अगाडि बढ्नसक्छ । थ्रीस्टार (१०) पनि चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध ३ अंक जोड्न सके उपाधि होडमा हुनेछ ।
ॅभाग्यको साथ’
‘आज भाग्य पनि लाग्यो, गेम पनि खेल्यो,’ हिमालयन शेर्पाका प्रशिक्षक सन्जीव बुढोथोकीले भने, ‘मछिन्द्रले गोल खाएको लामो लामो फ्रिकिकमा हो । सातौं खेलमा आएर च्याम्पियनको दाबेदारजस्तो राम्रो टिमलाई जित्नु धेरै राम्रो हो । पहिलो हाफमै अग्रता लिएकाले हामीलाई मौका थियो ।’
उनले थपे, ‘अलि मिहिनेत गर्‍यो, त्यसमा लक क्लिक भयो, दुई गोल गरिहाल्यौं ।’ जित्ने अवसर नगुमाउनका लागि अग्रता लिएपछि रक्षात्मक खेलेको पनि उनले बताए । ‘मुख्य फरवार्ड एडेलाजा र मिडफिल्डर विशाल राईलाई रोक्ने योजनामा पनि सफल भयौं,’ उनले सुनाए, ‘६ खेलसम्म जित्न नसक्दा धेरै दबाब लिएको थिएन । सबैले रेलिगेसनबारे सोच्थे । एक दिन नतिजा (जित) ल्याउँछौं भन्ने आस थियो ।’
आर्मी र ब्रिगेड ब्वाइजसँग हारेको हिमालयन शेर्पाले पुलिस, एपीएफ, फ्रेन्ड्स र मनाङसँग बराबरी खेल्यो । पछिल्ला तीन खेलमा गोल नबेहोरेका हिमालयनका गोलकिपर किशोर गिरीले मछिन्द्रविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरे । विशेषगरी दोस्रो हाफमा अभिषेक रिजाल, रेजिन सुब्बा र सुजल श्रेष्ठको प्रहारमा राम्रो बचाउ गरेका थिए । मनबहादुर तामाङको कप्तानीमा रहेको हिमालयनको डिफेन्स पनि संगठित देखियो ।
उपाधि होडमा अगाडि रहेका आर्मी, मछिन्द्र र मनाङविरुद्ध खेलिसकेपछि हिमालयनका प्रशिक्षक बुढाथोकीले भने, ‘मछिन्द्रको सबै पक्ष राम्रो छ, आक्रमण राम्रो छ, उसका १८ खेलाडी राम्रो छन्, जे पनि गर्न सक्छन् ।’ उनले एन्फा कम्प्लेक्सको खेलबारे भने, ‘मछिन्द्र धेरै राम्रो छ, हामीसँग मौका पाएको हो तर क्लिक गर्न सकेन ।’

 

खेलकुद

चन्दुलाई स्वर्ण

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मूलपानीकी चन्दु शाहीले दोस्रो एभरेस्ट राष्ट्रिय खुला तेक्वान्दोको महिला पुम्से १८ वर्षमाथि कालोपेटीमा स्वर्ण जितेकी छन् । शुक्रबार चन्दुले न्यु जेनकी रुबिना घलेलाई हराइन् ।
महिला १० वर्षमुनि रातोपेटीमा न्यु जेनकी एरो ली, महिला १८ वर्षमुनि रातोपेटीमा माइती नेपालकी सुस्मिता केसी र महिला १५ वर्षमुनि हरियोपेटीमा लैनचौरकी स्यारोन गुरुङ तथा पुरुष १८ वर्षमुनि कालोपेटीमा आर्मीका रोशन श्रेष्ठ विजेता भए । ग्योरोगीतर्फ प्रसिद्धकी प्रजोला लामा, द गोर्खाजकी रोशिना ओझा, मूलपानीकी प्रगति कुइँकेल, गोर्खाजकी सुनीता गोले, सुर्खेतकी काजल बिक, बाराकी सम्झना पाख्रिन, ईसीडीसीकी मनमाया तामाङ, युनाइटेडका स्वस्तिका महर्जन र सुप्रिमा बजगाईंले आफ्नो तौलमा स्वर्ण जिते ।

खेलकुद

जयन्ती र विन्दु फाइनलमा

वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक–बक्सिङमा प्रतिस्पर्धा गर्दै खेलाडी ।
- कान्तिपुर संवाददाता

(काठमाडौं) - आर्मीकी मन्जु बिक र एपीएफकी विनिता थापा मगर वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक–बक्सिङको महिला ६५ केजी तौलमा शुक्रबार फाइनल पुगेका छन् । सेमिफाइनलमा मन्जुले एपीएफकी मनीषा राउत र विनिताले मेन डोजोकी रविना तामाङलाई हराए । खुला तौलमा एपीएफकी जयन्ती श्रेष्ठले मेन डोजोकी पुनम कर्माचार्य र आर्मीकी विन्दु पुनले सो क्योकुसिनकी सुमी श्रेष्ठलाई हराउँदै फाइनलमा स्थान पक्का गरे ।
६० केजीमा एपीएफकी निशा बिकले मकवानपुरकी रेश्मा माझी र मेन डोजोकी सुस्मिता शाहीले प्रिया वाइबालाई हराएर स्वर्ण भिडन्त तय गरे । ५० केजीमा आईकेकेएफकी करिश्मा कार्कीले आर्मीकी रुबिका खड्का र एपीएफकी सन्जुमाया थिङले आर्मीकी शान्ति थापामगरलाई हराएर फाइनल यात्रा तय गरे । महिला ५५ केजीमा एपीएफकी विद्या गुरुङले आर्मीकी अनुपमा नेपाली र आर्मीकी रिना धिमालले पुलिस क्लबकी रिता ठकुल्ललाई हराएर फाइनल तय गरे ।
वर्षाका कारण शुक्रबारका सम्पूर्ण खेल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा खेलाइएको थियो । पहिलो दिन ललितपुरको चापागाउँस्थित प्याङगाउँ चौरमा भएको थियो । तेस्रो तथा अन्तिम दिनको खेल प्याङगाउँमै खेलाइने संयोजक मीनकृष्ण महर्जनले जनाएका छन् ।

खेलकुद

भीर सम्याएर खेलमैदान

- कान्तिपुर संवाददाता
कुश्मास्थित बडागाउँ–ज्ञादी झोलुङ्गे पुलछेउको भीर सम्याएर बनाइएको खेलमैदान । तस्बिर ः अगन्धर/कान्तिपुर

(पर्वत) - सशस्त्र प्रहरी बल तथा नेपाली सेनाले खाली जग्गा कब्जामा लिएपछि अभाव भएको खेलमैदानको समस्या अबको केही समयभित्रै समाधान हुने भएको छ । पर्वत उद्योग वाणिज्य संघलगायतको पहलमा कुश्मामा करिब ३० रोपनीमा मैदान बन्न लागेको हो ।
कुश्मा–ज्ञादी झोलुङ्गे पुलछेउमा ६० मिटर चौडाइ र २ सय ३० मिटर लम्बाइको भिरालो जमिन सम्याएर खेलमैदान बनाउन लागिएको छ । यसअघि पर्वत मिलन क्लब, स्थानीय टोल सुधार समिति, समाजसुधार सेवा मञ्चलगायत संस्थाले देउसीभैलो तथा चन्दा संकलन गरेर मैदान सुधार्ने प्रयास गरेका थिए । भिरालो जमिनमा करिब ६ सय थान ग्याभिन जालीले पर्खाल लगाएर केही सुधार गरेको जमिनलाई चालु वर्ष उद्योग वणिज्य संघको पहलमा फराकिलो बनाउन लागिएको हो ।
यसअघि करिब एकसय रोपनी क्षेत्रफलमा फैलिएको बडागाउँ चौरमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगी खेल हुँदै आएका थिए । २०५८ मा सशस्त्र प्रहरी बलको धौलागिरि हेर्ने गण राखेपछि जिल्लामा खेलमैदानको अभाव थियो । सशस्त्रलाई अन्यत्रै स्थानान्तरण गर्न स्थानीयले प्रयास गरे पनि सफल भएको छैन । संस्थाको पहलमा भिरालो जमिन सम्याएर बडागाउँ मैदानको विकल्प खोज्ने क्रममा करिब दुई दशकमा सपना पूरा भएकोमा गौरव महसुस भएको खेलाडीको प्रतिक्रिया छ । ‘फुटबल खेल्ने ठाउँले साह्रै समस्या थियो,’ खेलाडी अनिश पुनले भने, ‘अब आस पलाएको छ ।’
मैदान सम्याएर उवासंघले माघ ९ देखि १९ सम्म छैटौं पर्वत महोत्सव गर्ने भएको छ । महोत्सव पहिलोपटक सार्वजनिक चौरमा गर्न पाउँदा गौरव महसुस भएको संघका अध्यक्ष केदारनाथ शर्माले बताए । ‘हरेकपल्ट निजी जग्गा भाडामा लिएर महोत्सव गर्थ्यौं,’ उनले भने, ‘त्यसो गर्दा एउटा सागको बिरुवाको समेत क्षतिपूर्ति दिनुपर्थ्यो । अब सहज भयो ।’
मैदान सम्याउन करिब ४४ लाख रुपैयाँको लगत तय गरिएको उनले बताए । हालसम्म दुई सय थान ग्याभिन जाली लगाइसकिएको अध्यक्ष शर्माले बताए । अझै दुई सय थान ग्याभिन लगाउनुपर्ने र त्यसका लागि संघिय सांसद पदम गिरीले निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रमबाट २० लाख रुपैयाँ छुट्याउने प्रतिवद्धता जनाएका छन् । त्यसबाहेक अपुग रकम कुश्मा नगरपालिका र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा प्रस्तावपत्र पेश गरिएको संघका वरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले बताए । उनले भने, ‘महोत्सव सकिएलगत्तै मैदानको व्यवस्थापन र विस्तार सुरु भइहाल्छ ।’
कुश्मा नगरपालिकाकै गौरवका स्थानभित्र समेटिएको यो मैदानलाई व्यवस्थित गर्न नगरपालिकाले सक्दो तदारुकता देखाउने नगरप्रमुख रामचन्द्र जोशीले बताए । ‘स–साना प्रतियोगिता पनि कुश्माबाहिर पठाउनुपर्नेे अवस्था थियो,’ उनले भने, ‘अब त्यो समस्या हुँदैन । खेलमैदानले खेलकुदसँगै कुश्माको व्यवसायलाई पनि सहयोग गर्छ ।’

खेलकुद

तेस्रो एमपीएल आजदेखि

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– वी युनाइटेडले महिला प्रिमियर लिग (एमपीएल) को तेस्रो संस्करण शनिबार (आज) देखि आयोजना गर्दै छ । महिलाका लागि पहिलो फुटसल लिगका रूपमा रहेको एमपीएलमा यसपल्ट आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक शनिबार (६ साता) चल्ने प्रतियोगिता फेब्रुअरी २२ मा सकिने प्रोग्रामकी संयोजक सिलिका शाक्यले बताइन् ।
उनले यसपालि लिगमा धेरै टिमले सहभागिता जनाउन चासो राखेको बताउँदै आठ टिमलाई मात्र छनोट गरिएको बताइन् । प्रतिस्पर्धी टिममा एबीसी, ढुकु फुटसल, कुमारी फुटसल, बार्का फुटसल, फुटसल एरिना, लोकहार फुटसल, एमयुएफसी नेपाल गर्ल्स र द माइथी महिलाज छन् । मन्डिखाटारस्थित ग्रासरुट रिक्रिएसन सेन्टरमा हुने प्रतियोगिताको अंकका आधारमा शीर्ष तीन स्थानमा रहने टिमलाई पुरस्कृत गरिने संयोजक शाक्यले बताइन् । उनका अनुसार नगद पुरस्कारभन्दा पनि नेपालमा उत्पादित सामग्री प्रदान गरिनेछ । प्रतियोगितालाई युरोपियन युनियनको पनि सहयोग रहने जनाइएको छ ।

खेलकुद

भोजपुर ट्रेल रेस मार्चमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ‘भोजपुर ट्रेल रेस’ को पाँचौ संस्करण मार्च ७ र ८ मा हुने भएको छ । अल्ट्रा धाविका मीरा राईको गृह जिल्ला भोजपुरमा हरेक वर्ष हुँदै आएको प्रतियोगितामा यसपालि करिब ४ सय खेलाडीले भाग लिने आयोजक मीरा राई इनिसिएटिभले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ । रेसको दूरी मीराको जन्मस्थल सानोदुम्मादेखि सदरमुकामसम्म ३६ किलोमिटरको हुनेछ । नेपाल भ्रमण वर्ष २०२० लक्षित गर्दै चौथो संस्करणको रेसलाई समेटेर सर्जुन राईले निर्देशित वृत्तचित्र पर्यटन बोर्डको सभाहलमा प्रदर्शन गरियो । दूरदराजमा रहेका धावकलाई उत्साह तथा अवसर प्रदान गर्दै खेलमार्फत पर्यटन प्रवर्द्धन गर्न रेस गर्दै आएको मीरा राईले बताइन् । 

खेलकुद

कानाजावा कप कराते हुने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) को आयोजनामा १२ औं कानाजावा कप कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा कुमुते र काता गरी ३२ स्वर्णका लागि प्रतिस्पर्धा हुने शुक्रबार पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले बताए । नेपाल, भारत, पाकिस्तानलगायत राष्ट्रका करिब २ सय खेलाडी सहभागी हुने आयोजकका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले बताए । प्रतियोगिता गर्न करिब ४ लाख ६० हजार रुपैयाँ खर्च हुने आयोजक संघका महासचिव दिलेन्द्रगोविन्द वैद्यले बताए । दुईदिने प्रतियोगिताका खेल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते एकेडेमीको हलमा खेलाइने छ ।

खेलकुद

भ्रमण वर्षलक्षित अन्तर्राष्ट्रिय कराते

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल भ्रमण वर्ष २०२०, सचिवालयसँगको सहकार्यमा नेपाल सितोरियो कराते डो संघले प्रथम गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप गर्ने भएको छ ।
पोखरामा हुने प्रतियोगिता माघ २२–२६ सम्म हुने संयोजक राजीव थापाले जानकारी गराए । करिब ३० राष्ट्रबाट २ हजार खेलाडीलाई सहभागिता गराउने नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङले दाबी गरे । सिनियर, जुनियर र भेट्रानमा गरी २७ स्पर्धामा खेल हुनेछ । अध्यक्ष गुरुङले भ्रमण वर्ष २०२० लाई सफल बनाउन हरेक क्षेत्रले आ–आफ्नोतर्फ सक्दो प्रयास गर्नुपर्ने बताउँदै यो प्रतियोगिताले पनि सहयोग पुग्ने बताए । भ्रमण वर्षका सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले खेलकुदको माध्यमबाट पनि विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्ने मान्यतासाथ प्रतियोगिता गर्न लागिएको बताए । प्रतियोगिता गर्न करिब ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ ।

खेलकुद

कागेश्वरीबाट सम्मानित

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा निर्णायकको भूमिका निर्वाह गरेका तेक्वान्दोका अशोक खड्का र प्रशिक्षक गल्फका धनबहादुर थापालाई कागेश्वरी मनोहरा नगरपालिकाले शुक्रबार नगदसहित सम्मान गरेको छ । सागमा आबद्ध कागेश्वरी मनोहरामा बसोवास गर्नेलाई सम्मान गरिएको हो । दुवैलाई जनही २५ हजार गरी सम्मान गरियो ।

Page 16
खेलकुद

मणिका प्यारो साथी

आधुनिक नेपाली लिग फुटबल इतिहासको सबैभन्दा सफल क्लब हो मनाङ । यसले कीर्तिमान आठपल्ट ‘ए’ डिभिजन लिग जितिसकेको छ । यो क्लबको जग बसाउने समयका खेलाडी हुन् मुकेश शाही ।
- हिमेश

(काठमाडौं) - मनाङ मर्स्याङ्दी क्लबको समर्थक हुनुहुन्छ भने तपाई एउटा मिति याद गर्नुस्, २०४३ साल असार २६, बिहीबार ।
यो त्यही दिन हो । जतिबेला मनाङले सहिद स्मारक लिग ए डिभिजनमा डेब्यू गरेको थियो । दशरथ रंगशालामा भएको खेलमा प्रतिद्वन्द्वी थियो फ्रेन्ड्स क्लब । मनाङ त्यसमा २–० ले विजयी रह्यो ।
दुवै गोल एउटै खेलाडीले गरेका थिए । अब त्यो
नाम पनि याद गर्नुस् । नाम हो, मुकेश शाही । उनले ४० औं मिनेटमा मनाङका लागि पहिलो गोल गरे अनि ६५ औं मिनेटमा दोस्रो गोल थपे । दुवै गोलका लागि पास उपलब्ध गराउने खेलाडी थिए, उनै मणि शाह । मणि नेपाली फुटबलले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रा खेलाडी हुन् । मुकेश रहे, यिनै मणिका सबैभन्दा प्यारो साथी । आधुनिक नेपाली फुटबल इतिहासको सबैभन्दा सफल क्लब हो मनाङ । यसले कीर्तिमान आठपल्ट ‘ए’ डिभिजन लिग जितिसकेको छ । यो क्लबको जग बसाउने समयका खेलाडी हुन् मुकेश । अहिले उनी ५४ वर्ष पुगिसके । मज्जाले क्लब लेजेन्डभन्दा हुन्छ उनलाई ।
मनाङले ०४० सालमा ‘डी’ डिभिजन जित्यो अनि ०४१ मा ‘सी’ डिभिजन । उसले ०४२ मा ‘बी’ डिभिजन पनि जित्यो । यहाँसम्मको यात्रामा मनाङले एक गोल पनि खाएन । बरू हिसाब–किताब के छैन भने यसक्रममा क्लबले गोलचाहिँ कति गर्‍यो होला । यसपछि त सुरु भयो, ‘ए’ डिभिजनको यात्रा नै । ‘हामी त्यतिबेला कति धेरै बलियो टिम थियौं भनेर भनिसाध्य नै थिएन,’ मुकेश अहिले सम्झन्छन् ।
यो यात्रामा धेरै खेलाडीले साथ दिए । तर केहीले मात्र पूरा यात्रा गरे । त्यसमध्ये एक हुन् मुकेश । अरू दुई ठूला नाम विराटजंग शाही र अन्जित बस्नेत थिए । अन्जित त कप्तान पनि भए । भर्खर किशोर उमेर हुँदा घरछेउकै लैनचोरमा मुकेश फुटबल खेल्थे । पछि उनी खेल्न सानो गौचरण पुगे । त्यहाँ तीन टोलका खेलाडी जम्मा हुन्थे । सानो गौचरण त भयो नै । लैनचोर र पकनाजोलका पनि मिसिन्थे । सबै मिलेर नियमित खेल्थे । यस्तैमा कुरा निस्कियो, एउटा क्लब बनाऔं त । नाम जुर्‍यो, मर्स्याङ्दी मनाङ । नाम जुराउने काम टासी घलेले गरेका थिए । पछि यसलाई मनाङ मर्स्याङ्दी भनियो । यो त्यही बेला हो, जतिबेला ठमेल ११ प्रतिबन्धमा थियो । त्यसको केही वर्षमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप पनि जित्यो । डिएगो म्याराडोनाले सबैको मन जितेको थियो ।
त्यसैले क्लबले पनि रोज्यो, त्यही अर्जेन्टिनाकै जस्तो जर्सी, आकाशे रंगमा सेतो धर्सा । सुरुका दिनका ‘बी’ डिभिजनसम्म खेल्दा प्रशिक्षक थिए दार्जलिङका दोर्जे । ‘ए’ डिभिजन खेल्दा भने प्रशिक्षक थिए अमृत पन्त । त्यो ०४३ को लिगमा सहभागी कुल टिम थियो ११ । तिनलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा मनाङसँगै संकटा, एनआरटी योङ, आरसीटी, थ्रीस्टार र फ्रेन्ड्स क्लब । पहिलो खेल त फ्रेन्ड्सविरुद्ध नै भयो । लिग चरणका ५ खेलमध्ये मनाङ ३ मा विजयी रह्यो । बाँकी दुई बराबरीमा । त्यो समय एक जितको अंक थियो २ मात्र । मनाङ ८ अंकसहित समूह विजेता भयो ।
टिमका लागि मुकेशले ५ गोल गरे भने मणिले ४ । यस्तै विनोद आलेले १ र राजु गुरुङले २ ।
यो समूहबाट फ्रेन्ड्स दोस्रो भयो । अर्को समूहबाट एनआरटी र ब्वाइज स्पोर्टस अगाडि पुगे । त्यो चरणलाई सुपर लिग भनिएको थियो । त्यसमा अचम्मले सेमिफाइनल थियो, फाइनल पनि । सेमिफाइनलमा मनाङले ब्वाइज स्पोटर््सलाई १–० ले पन्छाएको थियो र त्यसमा निर्णायक गोल उनै मुकेशको थियो । अर्को सेमिफाइनलमा फ्रेन्ड्सले एनआरटीलाई हरायो ।


फाइनलमा मनाङ फेरि एकपल्ट फ्रेन्ड्सलाई २–१ ले हराउन सफल रह्यो । खेल भएको थियो, महाराजगन्जको पुलिस एकेडेमीमा । मनाङले केसाङको गोलले सुरुआती अग्रता लिएको थियो, तर फ्रेन्ड्सले केही समय अन्तरमै बराबरी गोल फर्कायो । यो काम गरेका थिए पवन श्रेष्ठले । खेल अन्तिम समयतिर पुगिसकेको थियो । मुकेश आफ्नै पोस्टनजिक थिए । उनले मणिलाई आवाज लगाए, ‘म अगाडि बढ्दै छु ।’ मुकेश अगाडि नपुन्जेलसम्म मणिले मैदानको बीच भागमै केही समय बल दायाँबायाँ चलाए । अनि मणिले बल फ्रेन्ड्सको पोस्टतर्फ फाले । स्थिति केही समय यताउता भयो । त्यही बेला मुकेशले एयर बल पाए । त्यसलाई टुच्च हेड गरे । त्यसमा गति थिएन, मान्छे उफ्रिएर हिँडे जस्तै गरेर बलले विस्तारै टुकुटुक पोस्टको जालीलाई चुम्न पुग्यो । हेड गरेर लडेका मुकेशले त्यसलाई नजिकबाट हेरिइरहेका थिए । बलले के ठ्याक्कै जाली चुम्यो, रेफ्रीको सिठी पनि बज्यो । मनाङका बाँकी खेलाडी भूइँमा लडिरहेका मुकेशमाथि एकपछि अर्को गरेर चढिहाले ।
उनले के भयो केही क्षण विचार गर्नै सकेनन् । तर त्यो ऐतिहासिक क्षण थियो । जतिबेला मनाङले पहिलोपल्ट ‘ए’ डिभिजन जितेको थियो । दिन थियो, ०४३ सालको कात्तिक २१, शुक्रबार । उनले कुल ७ गोल गरेका थिए । भए लिगकै सर्वाधिक गोल गर्ने खेलाडी । यही टिमले ०४४ मा पनि फेरि लिग जित्यो अनि त्यही सफलता ०४६ मा पनि दोहोर्‍यायो । यसरी लिग उपाधिको ह्याट्रिक नै भयो । तर उनले त्यो ०४६ को लिग भने खेलेनन् ।
त्यही वर्षको छेउछाउमा उनले सगुन शाहीसँग विवाह गरे । निर्णय गरे, ‘अब म आफ्नै काममा लाग्छु ।’ हुन पनि त्यतिबेला फुटबल खेलेर कमाइ हुन्नथ्यो । उनले आफ्नो खेलजीवनको उत्कर्षमै खेल्न छाडे । त्यो अर्थमा उनको खेलजीवन निकै छोटो रह्यो, गाह्रो मानेर ६–७ वर्ष । त्यसबीच उनले एकैपल्ट मात्र नेपाली राष्ट्रिय टिमबाट खेले । त्यो पाकिस्तानविरुद्ध सन् १९८७ को ओलम्पिक छनोटको पहिलो चरण हो ।
पाकिस्तानविरुद्ध दुई लेगको खेल थियो । दुवै काठमाडौंमा भएको थियो । पहिलो खेल गोलरहित बराबरीमा टुंगियो भने अर्को खेलमा नेपाल १–० ले विजयी रह्यो । धीरेन्द्र प्रधानले कर्नरबाट त्यो निर्णायक गोल गरेका थिए । उनै धीरेन्द्रको स्थानमा उनी ७० औं मिनेटमा मैदान छिरे, वैकल्पिक खेलाडीका रूपमा । यो नै उनले जितेको एकमात्र क्याप रह्यो । त्यसपछि उनी नेपाली फुटबलबाट यसरी अलग भए कि विराट र अन्जितको समूहसँग पनि आफूलाई ‘हाई–हेल्लो’ मै सीमित राखे । किन हो, नेपाली फुटबलसँग उनलाई चित्त दुखेको थियो । तर यसबीच पनि मणिसँग उनको सम्बन्ध उस्तै रह्यो । कुनै त्यस्तो दिन पनि भयो, जतिबेला उनीहरूले एउटै कट्टु पालो पालो लगाए । ‘हाम्रो सम्बन्ध जति मैदानमा सुमधुर थियो, त्यत्तिकै नजिकको सम्बन्ध निजी जीवनमा पनि थियो,’ अहिले मुकेश सम्झन्छन् । मणिले गोल गर्‍यो भने सबैभन्दा बढी खुसी मुकेशलाई नै लाग्थ्यो । मुकेशले जति पनि गोल गरे, लगभग सबै मणिकै पासमा सम्भव भएका थिए ।
मणि आफैं भन्थे, ‘यी मुकेश निकै राम्रा खेलाडी हुन् ।’ तर मुकेश भन्छन्, ‘मणि पो राम्रो खेलाडी । उनी कति राम्रा फुटबल खेलाडी थिए भने उनीजस्ता अब्बल दर्जाका खेलाडी नेपाली फुटबलले सायद दोहोर्‍याएर पाउने छैन । उनलाई भगवान्ले फुटबल खेल्न यस धर्तीमा पठाएका थिए । उनको बायाँ खुट्टामा जादु थियो ।’ उनी केसम्म भन्छन् भने मणिले बल प्रहार गर्दा आउने आवाज पनि मीठो सुनिन्थ्यो । त्यसले जाली चुम्दा पनि गज्जबको ‘फिस्स...’ आवाज आउँथ्यो ।
निधनको केही दिनअगाडि मात्र मणि मुकेशलाई भेट्न गएका थिए । उनको लैनचौरको घरमा । मणिले भनेका थिए, केही कुरा सुनाउनु छ भनेर । तर त्यो के थियो, त्यो भने खुलाएनन् । आफूसँग त्यो कुरा पनि लगे । अहिले मुकेश मान्छन्, उनमा सायद कुनै ठूलै व्यथा थियो । जुन दिन मणिले यो संसारबाट विदा लिए, मुकेशलाई असह्य पीडा भएको थियो । मुकेश यतिसम्म भन्छन्, ‘कसैले मलाई मणिको प्यारो साथी भनेर सम्झे पुग्छ ।’

खेलकुद

भारतको जित

- एएफपी
अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय जितेपछि कप्तान विराट कोहलीसहित भारतीय खेलाडी । तस्बिर ः एपी

 

राजकोट – भारतले शुक्रबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई ३६ रनले पराजित गरी शृंखला १–१ को बराबरीमा ल्याएको छ । उत्कृष्ट फर्ममा रहेका अस्ट्रेलियाका ब्याटिङ स्टार स्टिभ स्मिथको सानदार इनिङ्स पन्छाउँदै भारतले जित पाएको हो ।
स्मिथले ९८ रन बनाए पनि ३ सय ४१ रनको विशाल लक्ष्य लिएर आएको अस्ट्रेलिया ४९.१ ओभरमा ३ सय ४ रनमा अलआउट भयो । स्मिथले १ सय २ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे । उनले मार्नस लाबुसच्यानसँग तेस्रो विकेटमा ९६ रनको साझेदारी गर्दा अस्ट्रेलियाले जितको सम्भावना देखाएको थियो ।
लाबुसच्यानलाई रवीन्द्र जडेजाले आउट गरेपछि यो साझेदारी टुटेको थियो । ४७ बल खेलेका उनले ४ चौका प्रहार गरे । यसअघि ओपनरद्वय डेविड वार्नर १५ र कप्तान आरोन फिन्च ३३ रन बनाई आउट भए । एलेक्स केरी १८, एस्टन टर्नर १३, एस्टन एगर २५ रनमा आउट भए ।
रिचर्डसन ११ बलमा ४ चौका र १ छक्का प्रहार गरी २४ रनमा अविजित रहे । भारतका मोहम्मद सामीले १० ओभरमा ७७ रन खर्चेर ३ विकेट लिए । नवदीप सैनी, जडेजा र कुलदीप यादवले २–२ तथा जसप्रित बुमराहले १ विकेट लिए ।
यसअघि अस्ट्रेलियाले टस जितेपछि ब्याटिङमा आएको भारतले ३४०–६ को स्कोर बनाएको थियो । ओपनर शिखर धवनले ९६, केएल राहुलले ८० र कप्तान विराट कोहलीले ७८ रन बनाएपछि भारतले उत्कृष्ट पुनरागमन गरेको थियो । मुम्बईमा मंगलबारको पहिलो खेल भारत १० विकेटले हारेको थियो ।
रोहित शर्मासँग पहिलो विकेटमा ८१ रनको साझेदारी गरेका धवन १८ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउन थोरैले चुकेका थिए । कोहलीसँग पनि दोस्रो विकेटमा १ सय ३ रन जोडेका धवनले ९० बलको इनिङ्समा १३ चौका प्रहार गरे । तीव्र गतिका बलर केन रिचर्डसनको बलमा उनले मिचेल स्टार्कलाई क्याच दिन पुगे । ‘हामीले उत्कृष्ट पुनरागमन गर्न सक्यौं, त्यो नै प्रमुख हो । एकपटक जमेपछि हामीले उनीहरूमाथि दबाब बनाउन सफल भयौं,’ धवनले भने ।
रोहितले ४२ रन बनाए । ४४ बल खेलेका उनले ६ चौका प्रहार गरे । कोहलीले पनि आक्रामक खेल्दै ७६ बलको इनिङ्समा ६ चौका प्रहार गरे । एडम जाम्पाको बलमा स्टार्कले कोहलीको क्याच पनि लिए । तर बलिङमा स्टार्क जम्न सकेनन् । उनले १० ओभरमा ७८ रन खर्चेर कुनै विकेट लिन सकेनन् । रिचर्डसनले पनि २ विकेट लिन ७३ रन खर्चे । शृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार बेंग्लोरमा हुनेछ ।

 

खेलकुद

इंग्ल्यान्ड बलियो

- एएफपी

पोर्ट एलिजाबेथ – बेन स्टोक्स र ओली पोपको शतकमा इंग्ल्यान्डले तेस्रो टेस्टमा बलियो स्थितिमा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको छ । इंग्ल्यान्डले पहिलो इनिङ्स ४९९–९ मा घोषणा गरेको छ । जवाफमा आएको दक्षिण अफ्रिकाले दोस्रो दिनको खेल सकिँदा २ विकेट गुमाई ६० रन बनाएको छ । इंग्ल्यान्डलाई दुबै सफलता डम बेसले दिलाए । उनले पिटर मलानलाई १८ र जुबायर हम्जालाई १० रनमा आउट गरे । डिन एल्गर ३२ रन बनाई क्रिजमा छन् भने नाइट वाचम्यान एनरिच नोर्टजेले खाता खोल्न बाँकी छ । चार टेस्टको शृंखला १–१ को बराबरीमा छ ।
सेन्ट जर्ज पार्कमा विश्व वर्ष खेलाडी स्टोक्सले १ सय २० रन बनाए । यो उनको नवौं टेस्ट शतक हो । पहिलो टेस्ट शतक बनाएका पोप १ सय ३५ रनमा अविजित रहे । २ सय २६ बल खेलेका उनले १८ चौका र १ छक्का प्रहार गरे । इंल्यान्ड १४८–४ को स्थिति पुगेको समयमा यी दुईले पाँचौं विकेटमा २ सय ३ रन जोडे । इंग्ल्यान्डले पहिलो दिनको खेलमा ९० ओभरमा ४ विकेट गुमाई २ सय २४ रनमात्र बनाउन सकेको तुलनामा स्टोक्स र पोपले दोस्रो दिनमा खुलेर खेलेका थिए । साम कुरानले ५० बलमा ६ चौका र १ छक्का प्रहार गरी ४४ रन बनाए । मार्क उड ४२ रन बनाई आउट भएसँगै इंग्ल्यान्डले इनिङ्स समाप्तिको घोषणा गरेको थियो । उडले २३ बल खेली २ चौका र ५ छक्का प्रहार गरे । दक्षिण अफ्रिकाका केशव महाराजले ५ विकेट लिए । कागिसो राबाडाले २ तथा डेन पेटरसन र नोर्टजेले १–१ विकेट लिए ।
महँगो खुसी
विकेट लिएको खुसीमा जोसिलो हिसाबमा मनाउनु नै कागिसो राबाडाले चौथो टेस्ट गुमाउनुको कारण बनेको छ । बिहीबार पहिलो दिनको खेलमा इंग्ल्यान्डका कप्तान जो रुटलाई २७ रनमा बोल्ड गरेपछि राबाडा निकै उत्तेजित हुन पुगेका थिए । उनले रुटसामु पिचमै गएर जोसिलो हिसाबमा त्यसको खुसी मनाए, जुन आईसीसी आचारसंहिता विपरीत थियो । उनलाई म्याच फिको १५ प्रतिशत जरिवाना लगाइएको थियो र एक डिमेरिट अंक काटिएको थियो । २४ महिनाको अन्तरमा उनले चौथोपल्ट डिमेरिट अंक गुमाएकाले स्वतः निलम्बनका कारण एक खेल गुमाउने भएका हुन् । उनले अर्को साता जोहानेसबर्गमा हुने चौथो टेस्ट खेल्न पाउने छैनन् । राबाडाले आफूले गल्ती गरेको स्वीकारेका छन् ।

खेलकुद

पाँच सेटको रोमान्च

- कान्तिपुर संवाददाता
आरबीबी–एनभीए कप क्लब च्याम्पियनसिप भलिबलमा शुक्रबार न्यु डायमन्ड (नीलो) को प्लेसिङ रोक्ने प्रयासमा नेपाल पुलिस क्लबका खेलाडी । तस्बिर ः कान्तिपुर

(काठमाडौं) - क्लब भलिबलमा पछिल्लो तीन वर्षयता न्यु डायमन्ड र एपीएफकै दबदबा रहँदै आएको छ । पछिल्ला हरेक प्रतियोगिताको फाइनलमा यी दुईको भेट हुने गर्छ । शुक्रबार काठमाडौंमा सुरु आरबीबी–एनभीए कप क्लब च्याम्पियनसिप भलिबलमा भने न्यु डायमन्डलाई अर्को विभागीय टोली नेपाल पुलिस क्लबले कठिन चुनौती दियो । दुईपल्ट पछि परेको स्थिति उल्टाउँदै न्यु डायमन्डले खेलमा जितेको हो ।
महिला भलिबलमा तीन विभागीय र न्यु डायमन्डकै दबदबा छ । एपीएफ र न्यु डायमन्ड अघि–अघि, त्रिभुवन आर्मी र पुलिस पछि–पछि हुन्थे । राष्ट्रिय टोलीका युवा खेलाडीहरू पुनम चन्द र उषा विष्टलाई अनुबन्ध गरेको पुलिस आफ्नो विरासत फर्काउने लक्ष्यमा छ । तर अनुभवी खेलाडीको अभाव प्रस्ट छ । राष्ट्रिय टोलीका तीन सदस्य (सेटर अरुणा शाही, लिबेरो सलिना श्रेष्ठ र स्पाइकर प्रतिभा माली) प्रेरित न्यु डायमन्डले पहिलो सेट १७–२५ ले गुमायो । मुख्यतः यिनै तीन खेलाडीको भरमा रहेको न्यु डायमन्डको कमजोर ब्लकको फाइदा पुलिसले लिएको थियो ।
दोस्रो सेट २५–१८ ले जितेर खेल बराबरीमा ल्यायो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा कुनै समय न्यु डायमन्डले ११–१५ को अग्रता बनाइसकेको थियो । त्यसलाई जोगाउन नसक्दा २३–२५ ले सेट गुमाउन पुग्यो र खेलमा पुनः पछि पर्‍यो । चौथो सेटमा सुरुमै पछि परेको डायमन्डले पुनरागमनसहित २५–१८ ले नै सेट जित्यो । अन्तिम तथा निर्णायक सेटमा भने सुरुदेखि नै अग्रता बनाएको उसले अन्तिमसम्म कायम राख्न सफल रह्यो । अन्तिम सेट न्यु डायमन्डले १५–११ ले जित्यो । टोलीले समूह ‘बी’ मा विजयी सुरुआत गरेको छ । पुरुषतर्फ साबिक विजेता त्रिभुवन आर्मी र एपीएफले आफ्नो खेलमा जितका छन् । पहिलो खेलमा आर्मीले आरजी भलिबल ग्रुपलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–९, २५–१६, २५–९ को सेटमा खेल जित्यो ।
बुलबुले रारा क्लबलाई ३–१ को सेटमा हराउन एपीएफलाई भने हम्मेहम्मे पर्‍यो । स्तरीय तीन विदेशी खेलाडीसहित पहिलोपल्ट प्रतियोगितामा सहभागी बुलबुले क्लबले पहिलो सेट २३–२५ ले जितेको थियो । तर त्यसपछि तीन सेटमा एपीएफले सम्हालिएको खेल प्रदर्शन गर्‍यो । एपीएफले पछिल्ला सेट २५–२३, २५–२०, २५–१८ ले
आफ्नो पक्षमा पारेको थियो । शनिबार महिलामा एपीएफ र जावलाखेल तथा भरतपुर महानगर र आर्मी तथा पुरुषतर्फ आरजी ग्रुप र नयाँबजार तथा पुलिस र पार्वती भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Page 17
कोसेली

धमिलिँदै गएको तस्बिर

यहाँ अरू नै कसैका सम्झनाका प्रसंगहरू छन् । व्यक्ति पंक्तिकारको आमा हो । जीवनकालमा उहाँले देखेर/सुनेर/पढेर पनि सहजै सेयर गर्नुभएन । जे धेरथोर भए, त्यसको केही रूप यहाँ दिइएको छ ।
- सौरभ

आफ्ना अर्थहीन कुराहरू पनि असंख्यलाई महत्वपूर्ण लाग्छ । तर, त्यसमा सार्वजनिक रुचि हुनुपर्छ भन्ने छैन । सञ्चारले जति दबाब दिए पनि पंक्तिकार आफूसँग भने त्यस्ता कुनै कुरा छैनन् । यसैले यहाँ अरू नै कसैका सम्झनाका प्रसंगहरू छन् । व्यक्ति पंक्तिकारको आमा हो । जीवनकालमा उहाँले देखेर/सुनेर/पढेर पनि सहजै सेयर गर्नुभएन । जे धेरथोर भए, त्यसको केही रूप यहाँ दिइएको छ ।

विक्रम संवत् १९९७
रगतले पूरै भिजेको लुगा देउलाले फुकालेर बगरमा फाले, दशरथ चन्दलाई सोलामा चढाइसकेपछि । तर, त्यहाँ दशरथ चन्द मेरो आफन्त हो भन्न कोही पनि आएन । आएको भए देउलाले त्यो संस्कार गर्नु पर्दैनथ्यो । आज दशरथलाई मेरो नातेदार भन्ने चन्दहरू त्यतिबेला कहाँ थिए ? उहाँ प्रश्न गर्नुहुन्थ्यो ।
खोलाको वारि बगरबाट सत्र वर्षको उमेरमा त्यो दृश्य देखेकी उहाँ चन्द थरलाई रुचाउनु हुन्नथ्यो ।
गंगालाल त्यही केटो हो, जो आफ्नो काकालाई भेट्न छेत्रपाटीमा धाइरहन्थ्यो ? श्रेष्ठ पक्राउ परेपछिको सनसनाहटमा उहाँको पहिलो प्रश्न थियो किनभने गंगालालका काकाको त्यो घर हाम्रै घरपारिपट्टि सडकमा थियो (हाम्रा आफ्ना दुई घरचाहिँ बहादुरशमशेर राणाले २००३ सालमा जबर्जस्ती लिइदिएका थिए आफ्ना मानिसहरू राख्न, जुन अहिले जुद्धोदय हाइस्कुलसँगै पश्चिमपट्टि सडकमै थियो) ।
‘एक्लै बस्न सक्दिनस् भने पोइल जा !’ पतिलाई ज्यान सजाय नदेऊ भन्दै आफ्नो मोटरअगाडि पसारो पर्न आएकी हसिना श्रेष्ठलाई जुद्धशमशेरले निकृष्ट दर्जाको जवाफ दिएका थिए । उनका छोराहरू के गर्दै होलान् अहिले ? उहाँ निरन्तर उत्तर खोजिरहनुहुन्थ्यो ।
शुक्रराज शास्त्रीको लास हेर्न टेकुको उत्तरी भिरालो बाटो ओर्लेर सेतै कपाल र सेतै लामो दाह्री भएका माधवराज जोशी आए । झुन्ड्याइरहिएका छोरालाई हेरे र वरिपरि घुमेर नमस्कार गरे । ‘तिमीजस्तो बहादुर छोरालाई सलाम !’ भन्ने एक वाक्य सबैले सुन्ने गरेर बोले । त्यसपछि फनक्क फर्केर उही उकालो उक्लेर हराए । पछिसम्म त्यो दृश्यले विष्मित हुनुहुन्थ्यो उहाँ ।
शास्त्री परिवारसँग उहाँको पाँच–सात वर्षको उमेरदेखि नै हिमचिम थियो । शास्त्रीकी बहिनी चन्द्रकान्ता मल्लसँग उनकै घर गईगई पढेकाले मल्लका निम्ति उहाँको सम्बोधन थियो ‘गुरुमा’ ।
एउटा विशेष तस्बिर हेर्न खोज्दा नपाएपछि उहाँले दिएको जवाफ थियो, माधवराज जोशी र उनकी श्रीमती हेरेपछि तिनलाई हेर्नै पर्दैनथ्यो । यसैले शुक्रराज शास्त्रीले अनुवाद गरेको ‘ब्रह्मसूत्र शांकरभाष्य’ को मुखपृष्ठमा छापिएको उनको बाबुआमाको तस्बिरलाई आफ्ना बुबाको मावलीपट्टिको जिजुबाजे–जिजुबजैको तस्बिर ठान्ने गर्छ पंक्तिकार अचेल ।
पछि मल्लले बागबजारमा दाजुको नाममा एउटा स्कुल खोलिन् । त्यतिबेलासम्म पुतलीसडक निवासी भइसकेका हाम्रो घरअगाडिबाट उनलाई हिँडिरहेको देखिन्थ्यो । झ्यालको ऐनाभित्रबाट पंक्तिकारले धेरैपल्ट देखाइदियो मल्ललाई । तर, किन हो उहाँले अब भेट्नचाहिँ चाहनुभएन ।

‘लीला टिप्पणी’
गालाको कोठी छोप्न लेखनाथ पौड्यालले दाह्री पालेका हुन् । यस्तो भनाइ एउटा पत्रिकामा कसैले लेखेको पढेपछि पंक्तिकारले सोध्यो– साँच्चै हो त ?
स्वर्गद्वारी महाप्रभुमाथि ‘तरुण तपसी’ लेखेको मानिसले कोठी छोप्नकै लागि दाह्री पाल्ने कुरा उहाँलाई मान्य भएन । लेखनाथको ‘बुद्धिविनोद’ लाई डा. पिनाकीप्रसाद आचार्य (शैलजाको बाबु) ले दिएको उत्तरको पुस्तक कैयनपटक दोहोर्‍याउनुभएको थियो उहाँले । लेखनाथलाई धेरैपटक देखेकी उहाँले भन्नुभयो, ‘त्यति सानो कोठी छोप्न त्यति ठूलो दाह्री किन पाल्नुपर्‍यो ?’
‘ठूला कवि हुन्, खान नपाएर ज्यामिर
चुस्छन् !’ कसैले प्याच्च टिप्पणी गरेको उहाँको कानमा पर्‍यो, ज्ञानेश्वरबाट मैतीदेवी जाँदै गर्दा । जहाँको एउटा खुला चउरमा लक्ष्मीप्रसाद देवकोटा भाषण गर्दै रहेछन्, त्यसैले ‘मुनामदन’ र अन्य कृतिहरू पढिसकेपछि पनि उहाँले भने देवकोटालाई चिन्ने एउटै प्रतीक थियो– ज्यामिर चुस्ने कवि ।
इन्डियाको पुट्टपर्तीका साईबाबा जिउँदै छँदा उनी जादुगर हुन् भन्नेमाथि चर्चा भइरहेथ्यो । अब्राहम कभुरले किताबै लेखेका थिए त्यसमा । घण्टौं कुरा सुनेपछि उहाँले भन्नुभयो– नेपाली चाला, बाँचुन्जेल जादुगर मरेपछि देउता !
९७ सालमा सहिदहरूलाई पोल्ने भनिएका पात्र थिए शुक्रराजका आफ्नै भाइ । उसमाथि भएको चर्चा सुनेपछि भन्नुभयो– उसको नामै वाकपति, नबकेर के गरोस् ?
सम्पन्न मानिस देखेमा त्यसलाई जबर्जस्ती जागिर भिडाइदिने, कमाइरहेको थाहा पाए केही वर्ष आँखा पनि चिम्लने, अनि अत्तो लगाएर निचोर्दै जाने र आफ्नो ढुकुटी भर्ने चन्द्रशमशेर नीति धनकुटाका धनाढ्य श्रीविलास दाहालबाट सुरु गर्दै आदिभक्त माथेमाहरूसम्म आइपुगेको कुरा बताउनुहुन्थ्यो उहाँ । दाहाल एक पूर्वज थिए । टिप्पणी थियो– मोटो बोकालाई पहिले काट्छन् !
सान्चा पहलवानको उल्लेख समले ‘मेरो कविताको आराधन’ मा गरेजस्तो मात्रै लाग्छ, यकिन छैन । तर, ठहिँटीका कायस्थ थर भएका ती सान्चा पहलवान उहाँको मान्यताभित्र पर्दैनथे । नेवार नाम सुनिए पनि सान्चा पहलवान ठकुरी थिए पश्चिमका । उहाँका भनाइमा १९९० पछि उपत्यकाबाट निकाला गरिएको कारण थियो– मान्छे होइन धेरै हलुवाई पसल कुच्याएको थियो ।
दरबार हत्याकाण्डपछि कोतपर्व औंल्याउँदै गरेको टिप्पणी थियो– पहिला नाति जन्मिएथ्यो, अहिले बाजे जन्मियो ।
हैजा, टाइफाइड र बिफरले मृत्युदर उच्च रहेको उपत्यकामा घाटे वैद्यहरूको ठूलो बजार थियो । यमराजसरह कोही जुँगामुठे चापागाईंका नाकमुनि लामै घाउ र दलिएको औषधि देख्नेहरूलाई उनले दिएको स्पष्टीकरण थियो– दुई दिनमा आमा बित्छिन् भनेर तैंले घोषणा गरिस्, तर अहिले आमालाई घर फर्काइयो भनेर कोही रिसाहा दुवै जुँगा मुठ्याउँदै झुन्डियो । अब मैले यो काम छोडें पनि ।
उहाँले भन्नुभयो– तिनको ज्ञान अनुभवमा होइन, जुँगामा रहेछ ।
(विश्वास गर्न गाह्रो मान्नेहरूलाई उदाहरण दिइन्छ । पुराना पारखीहरूले आँपको बेर्ना किन्न जाने ठाउँ हो इन्डियाको यूपीमा पर्ने मलिहाबाद । दिवा निद्राबाट ब्युँझेर उठ्दा दुवै घना जुँगा उखेलिएर रगतपच्छे भए त्यहाँका नबाब । गद्दी नछोडेको रिसमा भतिजाले निदाएका काकाको जुँगा अजंगको गह्रौं मेचका हेन्डलमा डोरीमा बाँधिदिएको रहेछ ।)
एउटै छोरी पनि अमेरिका बसाइ सर्ने
सुनेपछि भन्नुभयो– जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !
नीलो जिल्ला भएको पातलो पुस्तक– लेखक भैरव जोशी । त्यसमा लेखकले आफूले घरको भित्तामा देउता देखेको वर्णन पढेपछि भन्नुभयो– बाले भन्नुहुन्थ्यो, तराईको चर्सा (छाला) ठेक्कामा कोटा पुर्‍याउन नसकेपछि चउरमा विष छरेर थारूहरूका गाईबस्तु मराइदियो । यस्तोलाई देउताले दर्शन दिए होलान् ?
गाईबस्तुलाई चाहेअनुसार, विष प्रयोग गरेर मैदानी इलाकामा मार्ने चलनबारे अहिले नेटमा पढ्न पनि पाइन्छ । तराईका कुरा गर्दा उहाँका तीन अविस्मरणीय थारू पात्र थिए– बलबहादुर, भोलैया र गिरिधारी । यी तीनैजना उहाँको माइती मौजा पर्साको हर्पुरगाउँका बासिन्दा हुन् ।
गिरिधारी ठ्याक्कै मोहनदास करमचन्द गान्धीजस्तै थिए । उस्तै चस्मा लगाएका, उस्तै थोतो, लठ्ठी टेकेका, अनुहार, उचाइ, पहिरन, हँसाइ सबै एउटै ।
पर्साका व्यापारी शंकर केडियाले धेरैपछि जब बारम्बार भन्न थाले– गान्धी गुजरातमा होइन, हाम्रै पर्सामा जन्मेका हुन्, उहाँ भन्नुहुन्थ्यो– त्यसले गिरिधारीलाई भन्या होला ?
यतिबेला अरुणा उप्रेती र क्यानडावासी नारायण घिमिरेले ममको पक्ष लिएर चाउचाउविरुद्ध धर्मयुद्ध छेडेको सामग्री पढ्न पाएको भए उहाँको टिप्पणी सम्भवतः हुने थियो– अब व्यापारीहरूले चाउचाउको नाम मम राख्नेछन् ।

सिर्जनाका पात्रहरू
‘रत्नदास प्रकाश गीत गाउन त ल्याइए, तर उनी माथिल्लो तलामा उक्लन अनकनाए । उनले भने– म त साही हुँ । त्यसपछि भेषनाथ दाइले (उतिबेलाका नाम चलेका तर रेकर्ड हुनुअगावै बितेका गायक भेषनाथ अर्याल) हाम्रोमा त्यस्तो बारना छैन भनेर भर्‍याङ उकाल्नुभयो । तैपनि सतरन्जा पल्टाएर बसे रत्नदास र झन्डै तीन घण्टा गीतहरू सुनाए ।’ —यस्ता अनेक प्रसंग थिए प्रकाशबारे । दाजुका कारणले देखे–सुनेका त्यतिबेलाका गायक–गायिकाहरू हरिप्रसाद रिमाल, बटुकृष्ण ज्वाला, किशोरीदेवी र पछि आफ्नै घरमा एकताका भाडामा बसेका बच्चुकैलाश, पुष्प नेपालीदेखि त्यहाँ गफ गर्न आइरहने किशोरी वयकी तारादेवीबारे उहाँका सम्झनाहरू अनेक थिए ।
जीवनका अन्तिम क्षणतिर प्रकाशबारे डकुमेन्ट्री बनाएको थियो एनटीभीले । त्यो देखाउँदा उहाँ भन्नुहुन्थ्यो– कहिल्यै बूढो हुँदैनरहेछ । एल्भिस प्रिस्ले बराबरको लोकप्रियता थियो रत्नदासको उहाँको अभिव्यक्तिलाई सार दिनुपर्दा, सुपरस्टार थिए उनी आफ्नो समयका । त्यस्तो स्थान नारायणगोपालले कहिल्यै पाएनन् ।
तर, कृष्णप्रसाद कोइराला, सोमनाथ सिग्देल, भजनप्रसाद गौतम, मृगेन्द्रशमशेर राणाप्रति राम्रो धारणा थिएन । प्युखास्थित आफ्नो माइतघरमा धेरैधेरैपल्ट कोइरालालाई देखेको, उनले गरेको संवादहरू सुनेको, प्रसिद्ध जुवाडे दिव्यदेव पन्तको घरमा कोइराला परिवार बस्दा नलिनी, इन्दिरा, गिरिजाप्रसाद कोइरालाहरूसँग खेलेको, खोइरोले कपाल झारेकाले चिन्डेसमेत भन्ने गरेको, विश्वेश्वरप्रसाद कोइराला भूमिगत अवस्थामा मध्यरातजस्तो खान आएको हेरेको र मातृकाप्रसाद कोइरालाले आफ्नो बाबुको कोट माग्दै लगाउँदै धेरैपल्ट गरेको जस्ता सयौं–हजारौं प्रसंग उहाँसँग भए पनि उनका परिवारबाहेक अन्य सर्वसाधारणले गरेको पिताजी सम्बोधनप्रति उहाँ ओठ नै लेब्य्राउनुहुन्थ्यो ।
१९९२ सालमा त्रिचन्द्र कलेजले आयोजना गरेको निबन्ध प्रतियोगितामा अंग्रेजीतर्फ सोमेन्द्रनाथ अर्याल र नेपालीतर्फ यदुनाथ खनाल पहिलो भए । यो त्यही सोमन्द्रनाथको कुरा हो ।नौ कक्षाको परीक्षाफलमा आफू दोस्रो भएपछि सोमेन्द्र स्कुल गएनन् । शक्ति छ भन्दैमा नम्बर बढी दिन मिल्छ ? भनेर उनले सम्भवतः त्यो बेलाका प्रिन्सिपल बटुकृष्ण मैत्रेयलाई भने । तर, मैत्रेय गलेनन् । आखिर घोडा चढेर प्रथम भएका विद्यार्थी मृगेन्द्रशमशेर राणा स्वयं बोलाउन आए । अब पहिलोको नम्बर घटाइयो र दोस्रोको बढाइयो । उहाँले भन्नुभयो– त्यसपछि सोमेन्द्र दाइ स्कुल गए ।
तर, अमृत भाइलाई पहिलो हुँदा पनि शिक्षाका डाइरेक्टर भइसकेका तिनै मृगेन्द्रशमशेरले कलकत्ता पढ्ने छात्रवृत्ति उपलब्ध गराएनन् । धेरै आग्रहपछि उनले एउटा पत्र थमाएर कलकत्ता पठाए । तर, विश्वविद्यालयको प्रिन्सिपलले आँखा कमजोर छ भन्ने बहानामा इन्जिनियरिङमा भर्ना लिएनन् । बहाना हो भन्ने बुझेपछि काठमाडौंमा गएर प्रतिवाद उठाउँदिनँ, कसैलाई भन्दिनँ भन्ने कबुल अमृतनाथले गरे । प्रिन्सिपलले कारण खोल्यो– यो विद्यार्थीलाई जसरी भए पनि भर्ना नलिई पठाइदिनू भन्ने लेखेको छ ।
(यदुनाथ खनाललाई पनि बिनाकारण छात्रवृत्तिमा मृगेन्द्रशमशेरले अन्याय गरे– पेज १४ यदुनाथ खनाल : जीवनी र विचार)
लैनसिंह बाङ्देलले ‘छ महान् कलाकार’ शीर्षकको आफ्नो पुस्तकमा यस्तै प्रसंग लेखेका छन्– ‘लास्ट सपर’ चित्रको निम्ति भिन्सीले महिनौं कुरेपछि क्राइस्टको चित्र बनाउन लायक मोडल भेट्छन् तर त्यसको कैयन् वर्षसम्म जुडासको अनुहार बनाउन लायक पात्र भेट्दैनन् । वर्षौंपछि त्यही मोडमा जुन पात्र भेटेर स्टुडियो लान्छन् उसले पहिले पनि आफू त्यहाँ आइसकेको सम्झना गर्छ । अर्थात् सोमेन्द्रकालका क्राइस्टजस्ता मृगेन्द्र अमृतकालमा जुडास भइसकेका छन् । फ्रेस्को भनिने यो भित्ताभरिको विशाल चित्रकला मिलानको एउटा गिर्जाघरमा आज पनि छ । पंक्तिकारले आफैंले हेरेको पनि छ ।
पंक्तिकार पुग्नुको एउटा कारण भिन्सीको मोडल मृगेन्द्रशमशेर हो भन्ने अवचेतन मनमा रहेको छापले होला । अमृतनाथलाई मृगेन्द्रशमशेरले पन्छाएको कारण भने स्पष्टै छ– मुड । तर, २००७ सालपछि अमृतनाथले त्यो अन्यायको कारण मृगेन्द्रशमशेरसँग सोध्दा उनले दिएको जवाफ थियो– त्यो बेला त्यस्तै चलन थियो ।

माथि आएका यी दुई प्रखर पात्रहरू भेषनाथ र सोमेन्द्रनाथको अकालमै मृत्यु एउटै महिलाले गर्दा भयो, उहाँ भन्नुहुन्थ्यो– ती हामी सबैकी भाउजू हुन् । उनी क्षयरोगी थिइन्, जो आफूभन्दा स–सानाहरूलाई समय बिताउने नाममा तास खेल्न निम्त्याइरहन्थिन्, दिनभर तास चलिरहन्थ्यो । यो एउटा सगोल परिवारको ४०–५० जना किशोरकिशोरी झुन्डको विशाल समाज थियो । मानौं, श्वेतश्याम बंगाली सिनेमाको यस्तो एउटा विशाल ‘बाडी घर’ थियो, जसको चोकबाहिरको ढोकामा अहिले प्युखाको ‘स्यान्डी सप’ छ ।
सन् १९४९ मा क्षयरोगको औषधि आयो । र, सन् १९५१ मा टोखा स्यानिटोरियम खुल्यो पनि । तर, त्योसँग डर कस्तो भने, १९८० पछि पनि काठमाडौंको एउटा पानपसलबाट हामीले कहिल्यै पान किनेनौं, त्यो परिवारका सदस्यलाई क्षयरोग छ भन्ने सुनेर । एक महिला विशेषको निधन ‘बिकुलाई’ ले भएको हो भन्नुभयो एक दिन । कहिले नसुनेको त्यो शब्दप्रति उदेक लाग्यो । कालान्तरमा त्यो शब्द शरद्चन्द्र चट्टोपाध्यायको जीवनी ‘आवारा मसिहा’ मा भेटेपछि थाहा भयो– बंगालमा पढेर आएको कुनै डक्टरको उच्चारण रहेछ, क्षयरोगको कीटाणु ब्यासिलस बुझाउने ।

दिगम्बरा र विषप्रौढा
दिगम्बरा बस्थिन् गौशालाबाट पशुपति जाँदाको देब्रे भीरमा । सम्भवतः यही भीर हो, जहाँबाट एउटा वर्ष हिसिला यमी र उनका साथीहरूले ऐश्वर्यको मोटरमा ढुंगा बर्साएका थिए ।
सन् १९७० को दशकको सुरुसुरुतिर एउटी निर्वस्त्र पश्चिमा महिला झोंछेबाट पुरानो नगरपालिका भवनको बाटोमा बढिरहिछन् भन्ने सुनेपछि जनसेवा प्रहरी चौकीका प्रहरीहरू रुमाल र तन्ना बोकेर दौडिएका थिए र तिनलाई बेरेर चौकी लगेका थिए । त्यसअघि कोही साध्वी त्यस रूपमा थिइन् भन्ने थाहा थिएन । उहाँ भन्नुहुन्थ्यो– विशाल जटाधारी, चिनियाँजस्तो देखिने, कपडाले छेकिएर बस्ने तिनले अनेक सात्विक अनुष्ठानपछि मन्त्र पनि दिने गर्थिन् । जो सही साबित भयो पनि । थोरै समयपछि ती कहिल्यै देखिइनन् । अत्यन्त सुनसानका बेला भीर तल र माथि देब्रेपट्टिबाट सर्दै नृत्य गरिरहेको पनि देखिन्थ्यो । विषप्रौढाको घर भने थियो गणबहालमा । ती ब्राह्मणी नै थिइन् । तर, केही महिनामै पति फेरिन्थे । कुनैबेला जटाधारी पनि रहेकी तिनबाट त्यस्तो घटना किन घटिरहन्छ भनेर त्यसबेला समाजको ठूलो ध्यान भने गएन । जीवित पात्र थिए– टर्नेल ।
बोधविक्रम अधिकारीको दन्त्यकथाकी एउटी रानी, जसको नाकबाट निस्कने दुई सर्पले प्रत्येक रात नयाँ राजालाई ठुङ्थ्यो– यही घटनाबाट लिइएको रहेछ कि भनेर लाग्ने ।
पाल्पाका पुरानो भारदारी परिवारका मनमोहनप्रसाद श्रेष्ठले ९१ वर्षभन्दा बढी उमेरमा यो प्रसंग एकाएक निकाले । आफूले पनि सुनेको हुँदा चासो भयो । उनले त्यो घर देखाउन लगे । खिरखिरे हरियो झ्याल भएको त्यो घर मल्लहरूको घरहरूको चेपमा विलीन भइसकेको थियो । यद्यपि श्रेष्ठ सायद अझै धेरै जानकारी राख्थे । ‘नरेन्द्र दाइ’ र ‘तीन घुम्ती’ का प्लटहरू काठमाडौंमा यत्रतत्र थिए ।

माग्ने र गाई
यत्रतत्र थिए गुरूप्रसाद मैनालीको ‘नासो’ का प्लटहरू । दुइटा यहाँ दिइन्छ । ताहाचलको गाईबाच्छा पाटीको अर्को कुनामा एक रात अर्को माग्ने बस्न आयो । त्यसपछि दुवै जना माग्ने सँगसँगै माग्न जान थाले । एक महिनापछि अर्को माग्ने मर्‍यो । पहिलो माग्नेले उसको सदगति मात्रै गरेन, गाईजात्रामा आफैं गाई भएर हिँड्यो । वर्षदिनसम्म शोक बारेर लुगा फेरेपछि मात्रै त्यसले पाटी छोड्यो– छेत्रपाटी र पुतलीसडकबीचको ट्रान्जिटकालमा त्यहाँ बसेका बेला उहाँले कौशीबाट देखेको दृश्य थियो त्यो ।
१९९० सालको भुइँचालोपछि उहाँका बाको परिवारले मैतीदेवीका निम्ति प्युखा छोड्यो । तर, गोठको गाई छोडेपछि फर्किएन । बाटो पहिल्याउँदै दर्जनौंपल्ट प्युखा नै पुग्यो । विडम्बना, प्युखा नछोडेको परिवारले त्यसलाई गोठमा पस्न दिएनन् । त्यो त्यहाँको ढोकामै उभिइरह्यो, बसिरह्यो । दर्जनौंपटक यसो भएपछि नजिकै बस्ने एक नातेदारले भने– मलाई दिए दूध खान्थें । तर, तिनले त्यसका निम्ति कहिल्यै गोठ बनाएनन्, घाँस हालेनन्, पानी दिएनन् । असन चरेर रात परेपछि त्यो त्यहीँ पेटीमा जीवनभर बस्यो, दूध दिइरह्यो । एक दिन कुनै ज्यापूले हानेको खुकुरीको मार खाएर फर्केको त्यो त्यहीँ पेटीमा थलियो, तिनले घाउमा बेसारसमेत लगाइदिएनन्, त्यो त्यहीँ मर्‍यो र स्थानीय मानिसहरूले उठाएर लगे । पुरानो युगका मानिसहरू भयावह रूपमा निर्दयी थिए– उहाँको निर्क्योल थियो ।

कण्ठस्थ क्रम
‘मुकुन्द–इन्दिरा’ नाटकको मञ्चन भयो, सम्भवतः १९९० को दशकको सुरुतिर । लेखक–निर्देशक बालकृष्ण सम हुन् । तर, उहाँलाई २०६० सालसम्म पनि त्यस नाटकको पहिलो प्रदर्शनमा कुन पात्रको भूमिका कसले निर्वाह गरेको थियो भन्ने कण्ठस्थ थियो । बरु प्रचण्ड मल्ललाई होला कि नहोला ? कारण थियो– त्यसका एक अभिनयकर्ता गोपीनाथ अर्याल, सोमेन्द्रका भाइ नै थिए । अर्थात् त्यसका यावत् अभिनयकर्ता त्यो सानो काठमाडौंका घर छिमेकहरू नै थिए ।
अर्को कण्ठस्थ सामग्री थियो– २००७ सालको तिहारमा महावीरशमशेर राणाको हिमालय एभिएसनले छरेको पर्चाको कवितारूपी राजनीतिक सन्देश । बरु त्यो पर्चा नै पनि कसैको संकलनमा अहिले होला कि नहोला ?
२० वर्षअघि फाखेल, फर्पिङका एक तामाङले २०१५ सालको चुनावमा कंग्रेसविरुद्ध गोरखा परिषद्ले घन्काएको कवितात्मक नारालाई यसरी सुनाएका थिए, मानौं सिर्जनशीलतामा देवकोटाबाहेक त्यतिबेला प्रखर अरू पनि थिए कि जस्तो लाग्थ्यो । उहाँपछि त्यो स्मरणशक्ति यी तामाङमा मात्रै भेटेको छ पंक्तिकारले ।
रुद्रराज पाण्डेको ‘रूपमती’ र भीमनिधि तिवारीको ‘बयासी गजल’का पंक्तिपंक्ति याद थिए । काठमाडौंका महिलाविशेषले लेखेका वा महिलाविशेषमाथि लेखिएका पुस्तकहरू उहाँका प्रिय थिए । जस्तो : बुलु शर्माको जीवन : आनन्दको र पीडाको, शोभा भट्टराईको अन्तहीन अन्त । अन्तिम पुस्तक सायद ‘दरबारबाहिरकी महारानी’ थियो ।

कक्षबहादुर र भजनप्रसाद
कक्षबहादुर काण्डबारे एक–दुई पंक्ति कतै पढेजस्तो पनि लाग्छ । तर, उहाँले सुनाएको प्रसंग यस्तो थियो– कुनै ठूलो दरबारबाट भारीका भारी नोट र सुनका भाँडाकुँडा चोरी भयो । राणा सरकारले पत्ता लगाउन सकेन । बरु झ्याली पिटायो– चोर चिनेका छौं, छिट्टै पक्रन्छौं । आफैं हाजिर हुन्छौ भने क्षमा पाउँछौ । यो जालमा फँसेर धेरै घरका झ्यालबाट रातको अन्धकारमा झाडीतिर सुनका भाँडाकुँडाहरू फाल्नसम्म फालिए । कक्षबहादुर र उसको टोलीले नोट बालेर भात पकाएर खाएको थियो ।
यो नोट बालेर भात पकाएको कुरा थाहा पाउनुको सूत्र रहेछ– धेरै परबाट कक्षबहादुरको परिवार परिचित रहेछ । मुखमुखै हुँदै उहाँकहाँ आयो । २०४६ पछि अर्को कक्षबहादुर काण्ड घट्यो, जब मालेका केही सक्रिय कार्यकर्ताहरूले एमालेमा पुनः फर्किने निर्णय गरेपछि केही अन्तरंग साथीहरूसँग भने– त्यो फुटेको बेला के मात्रै गरिएन, नोटमाथि सुतिएन कि नोट ओढिएन ? भात पकाउन मात्रै बाँकी थियो !
दुइटा सुनका बाला झोंछेतिरको कुनै बाँडाले (धेरै सम्भावना अष्टलक्ष्मी शाक्यको पुर्खा) बेच्ने उद्देश्यले जुद्धशमशेर राणाकहाँ पुर्‍यायो । उनले आफ्नो दाहिने हातलाई सोधे– मैले तिमीलाई दिएको बाला मैलाई बेच्न भनेर कसरी आइपुग्यो ? ती पात्रले आफ्नी पत्नीलाई सोधे– त्यो उपहार बाँडाकहाँ कसरी पुग्यो ? पत्नीले जवाफ दिइन्– मैले त कुनै ‘भजनप्रसाद’ लाई उपहार चढाएथें ।
संस्कृत साहित्य पढ्नेहरूले राजा भतृहरिको कथा अवश्य सम्झनेछन् । पंक्तिकारले त अनुवाद मात्रै पढेको हो । उहाँका अनुसार, प्रशस्त राणाहरूका घर, मध्यमवर्गीय ब्राह्मण–क्षत्रीहरूका घर उजाडिएका थिए । वनकालीको रूखमा वर्षमा आठ–दसवटा मानिस आफैं फल्न पुग्नुको स्रोतकेन्द्र खोज्दै गयो भने एउटै ठाउँमा पुग्थ्यो । अधबैंसे महिलाहरूले पन्छाउने अनेक प्रयास गरे पनि सम्मोहन मन्त्र फुकिएको दहीले युवा उमेरका महिलाहरूलाई छ्याप्ने चलनको प्रसंग काठमाडौंमा व्यापक थियो ।

यज्ञराज र सोमनाथ
संगीत शिरोमणि यज्ञराज अर्याललाई अत्यन्तै सरल, हदैसम्मको सोझो र सज्जन मान्नुहुन्थ्यो उहाँ । भगवती दी (अर्यालपत्नी) ले मैतीदेवीको घर कुनै हालतमा बेच्न लगाउनुहुन्नथ्यो भन्नुहुन्थ्यो ।
उहाँका भनाइमा त्यो समयमा अर्यालको घरजस्तो सुन्दर, समकालीन सुविधाहरूले भरिएको, बोटबिरुवाले सजिएको, अझ अहिलेको भाषामा भन्नुपर्दा लक्जरियसचाहिँ होइन, सारै कम्फर्टेबल घर त्यो इलाकामा थिएन ।
(एउटा यस्तै अभिव्यक्ति लगभग ३० वर्षअघि वासुदेव ढुंगानाको मुखबाट सुनेको थियो पंक्तिकारले अहिलेको शीतलनिवासको दक्षिण पश्चिमको एउटा घरबारे ।) उनको भनाइमा त्यो जति सुन्दर घर थिएन काठमाडौंमा ।
संगीत शिरोमणिसँग यही सम्बन्धले पनि होला, दुई–चारपटक गफ गर्ने मौका मिलेको छ पंक्तिकारलाई पनि । उहाँ साझा प्रकाशनले आफ्ना पुस्तकहरूको रोयल्टी नदिएको गुनासो गरिररहनुहुन्थ्यो । प्रज्ञामा लखरलखर हिँडिरहेको देख्दा दुःख पनि लाग्थ्यो ।
आदर्श पुस्तकहरूले तोकेको मर्यादा पालन नगर्ने कारणहरूले होला, कालिकास्थानस्थित नेसनल मेडिकल कलेज रहेको ठाउँको उहाँको त्यो पछिल्लो घरमा दसैंको टीका लगाउन हामी आमा–छोरा जाँदा बूढी फुपूले पनि जीवनभर टाँसिनुपरेको तर आदर र श्रद्धा नभएको आफ्नो श्रीमान्सँग टीका लगाउने आग्रह गर्नुभएन । आमाले पनि टीका लगाउन खोज्नुभएन । अहिले पनि वाल्मीकि क्याम्पसमा पस्नुपरेको बेला पस्दा वा निस्कँदा उनको शालिकलाई पंक्तिकारले देब्रे नै पार्ने गरेको छ ।
यद्यपि संस्कृतका विद्वान्हरू उनको ‘आदर्श राघव’ लाई देवकोटाका कुनै पनि कृतिभन्दा सर्वोत्कृष्ट मान्छन् । भलै ‘कश्यप संहिता’ को भूमिका, जसले हेमराज पाण्डेलाई विद्वान्मा स्थापित गरायो त्योचाहिँ हल्ला भएअनुसार सिग्देलले लेखेको होइन, पाण्डेकै मौलिक हो भनेर ज्ञानमणि नेपालबाट पंक्तिकारले सुनेको हो । (यसको हिन्दी अनुवाद प्रकाश ए राजले वाल्मीकि क्याम्पसको पुस्तकालयलाई उपहार दिएका छन् । रुचि राख्नेहरूले पढ्न सक्नेछन् ।)

पुछारमा
अनुहार डढेर चिन्नै नसकिने बनाइएका तर शरीर साबुत रहेका पाँच–सातवटा, लासहरू वाग्मती, विष्णुमतीका घाटमा हरेक बिहानजस्तो देखिन थालेका थिए, २००७ को ठ्याक्कै अगाडि । बिचरा काठमाडौं पढ्न बसेका कताकताका पहाडिया केटाहरू होलान् । विद्रोहमा लागे, त्यो गति भयो । तिनका बाबुआमाले कति खोजे होलान् ? –यो आफूले कहीँ पढ्न नपाएको प्रसंग पनि बारम्बार भन्ने गर्नुहुन्थ्यो । सम्भवतः बुबाले दिएको चाहिँ जानकारी हो ।
जेलको निर्घात चुटाइले धोतीभित्र देखिएको घाउ नै घाउले भरिएका शुक्रराज शास्त्री र कृष्णप्रसाद कोइरालाका गोडाहरूको दृश्यले पनि उहाँलाई पछिसम्म सताउन छोडेन ।
२०६१ सालको दसैंमा छोराछोरीलाई टीका लगाइदिँदा उहाँले आशीर्वादका ठाउँमा भनेको वाक्य यस्तो थियो– मूर्ख पहाडियाहरू आफैंआफैं लडेर मर्छन्, त्यो खाली ठाउँ अर्कोले भर्छ ।
गणेशराज शर्मालाई अन्तिम बिदाइ दिन बारका परिचित मित्र वकिलहरू पनि झुम्मिएका रहेछन् । शर्मासँग धोबीधारा र उनको साँखुको ‘हिल स्टेसन’ मा गफ भएको पनि हो । तर, त्यो रात पाँच मिटर परसम्म अघि बढ्ने मन पनि भएन पंक्तिकारलाई । उनको बिदाइपछि त्यो भकारी रातभर खाली नै रह्यो । त्यसैमा आखिर कात्तिक २०७२ को बिहानपख उहाँलाई बिसाइयो ९३ वर्षको उमेरमा । उहाँको नाम ‘लीला’ । अहिलेलाई यत्ति नै ।

कोसेली

‘बड्डा’ को डोब

- रवीन्द्र ढकाल

मानवशास्त्री डोरबहादुर विष्ट २०४८ सालमा जुम्लाको चौधबीसा उपत्यका पुगे । उद्देश्य थियो– समाज विज्ञानका सिद्धान्तलाई व्यवहारमा उतार्नु । यही चौधबीसाबाट २०५२ सालको अन्त्यतिर उनी जुम्ला बजार हुँदै नेपालगन्ज उडेका थिए । त्यसपछि उनी हराए । हालसम्म उनको खबर छैन । डोरबहादुरले समाज–विज्ञान अध्ययन गरेको थलो बुझ्न विष्ट हराएको लगभग २३ वर्षपछि (२०७५ पुस ६) गते रवीन्द्र ढकाल चौधबीसा उपत्यका पुगेका थिए । डोरबहादुर हराएको दुई दशकपछि त्यस उपत्यकाको चित्र कस्तो थियो ? डोरबहादुरबारे गाउँलेहरू के भन्थे ?
एक आलेख :
ड्डाका कपाल पूरै सेतो, आँखानिर कालो कोठी । राडीपाखी काँधको दुवैपट्टि हालेर कम्मरमा डोरीले बाँध्थे रे ! प्रायः एक्लै हिँड्थे । कहिलेकाहीँ गाउँलेहरू भेला गराउँथे । र भन्थे, ‘तिमीहरू लाटा हौ, जडीबुटी भईकन पनि ठगिएका छौ ।’
बड्डाको यो वचन चौधबीसा उपत्यकाको लुम गाउँका कल्लीबहादुर रावतको मनमै गडेको छ । उनका ‘बड्डा’ हुन् डोरबहादुर विष्ट हुन् ।
चौधबीसाको विकासका लागि पहिला शिक्षा र शिक्षामार्फत अन्धविश्वास हटाउनुपर्छ भन्थे डोरबहादुर । यो कुरा उनले हिमालखबर पत्रिकाको २०५२ ‘माघ–चैत’ सालमा प्रकाशित लेखमा ‘चौधबीसाको अनुभव : खसहरूमा आत्म–पहिचानको संकट’ मा बताएका छन् ।
यही परिकल्पनाअनुरूप, उनले कर्णाली इन्स्टिच्युट खडा गरे चौधबीसामा । सदियौंदेखि खस जातिको आत्मविश्वास र पहिचानलाई सामूहिक रूपमा कमजोर परियो भन्ने उनको बुझाइ थियो ।
चौधबीसा उपत्यकावरिपरि पाइने जडीबुटीको उचित उपयोगले आर्थिक स्थिति सबल बनाउँछ, अर्थ भएपछि पहिचानको संकटको खाडललाई पुर्न सजिलो हुन्छ अनि आत्मविश्वास फर्किन्छ भन्नेमा विष्ट विश्वस्त थिए । विष्टले चौधबीसामा यही कुरा लागू गर्ने प्रयत्न गरेका थिए ।
चौधबीसा उपत्यकाभित्रको खस बस्ती हो— लुम गाउँ । गाउँमुन्तिर जवा नदी फैलिएर बगेको छ । नदीकै मास्तिर झुरुप्प माटोका छत भएका घरहरू टक्क मिलेर बसेका छन् । यी घरहरूलाई जहिल्यै पतरासी हिमालले हेरिरहेको हुन्छ ।
लुम गाउँकै शिवलाल रावत र गोविन्द बुढालाई विष्टले त्यसबेला काठमाडौं पढ्न पठाए । शिवलाल रावत अझै उनले भनेको वाक्य सम्झन्छन्, ‘काठमाडौं गएर पढ्नु अनि फर्कनु, काठमाडौंलाई चौधबीसासँग जोडने पुल हौ तिमीहरू ।’

जुम्लाको खलंगा बजारबाट ४५ मिनेटको जिप–यात्रापछि म लुम गाउँ पुगेको थिएँ । लुममा अहिले जिन्स पाइन्ट, मास्क, टुबोर्ग बियर र मोबाइलका सेटहरू बाटोसँगै पुगेर फेसन बनेका छन् ।
म लुम पुग्दा घाम टाउकोमाथि पुगिसकेको थियो । गाउँलेहरू विद्यालयको चउरमा जम्मा भएका थिए । चउरबीचमा कुर्सी थियो । कुर्सीमाथिको टपरीमा रातो अक्षता र सुकेको रगतको पाप्रा देखियो ।
कुर्सीअगाडि नाइलनको डोरीले दुई हात बाँधेका ‘मान्ठा’ हरू लस्करै उभिएका थिए । ती मान्ठाहरूलाई टपरीमा छुवाउँदै ‘तुइले चोर्‍या हो कि नाइ ?’ भनिँदै थियो ।
पाठोको रगतको सुकेको पाप्रा छोएपछि चोरले सत्य बोल्नुपर्छ रे ! यदि उसले झूट बोल्यो भने धामी लाग्छ भन्ने मान्यता रहेछ ।
यहाँ सरकारी ऐनभन्दा पनि धामीको शासन कडा रहेछ । टपरी छोएर कसम खाने मान्ठाहरू मुगुका बासिन्दा थिए ।
लुम गाउँको सामुदायिक वनको सिमानाले मुगुलाई छुन्छ । यी मान्ठाले बिनाजानकारी सामुदायिक वनमा पसेर हिड्डे र भोल्टे (जडीबुटी) चोरेका रहेछन् । चोर पत्ता लगाउने यस्तो प्रथालाई स्थानीय शब्दमा ‘रक्त्यावली’ भनिन्छ । धामी लाग्ने भएपछि साँचो नबोलेर भयो त ?

डोरबहादुर विष्टले सधैं भन्थे, ‘धामी, देवी, देवता, बाहुनले नेपाली समाजको पौरखको बाटो छेकिदिए ।’
उनी आफ्नो लेखमा यहाँका मान्ठाभित्र गडेर बसेको धामी अर्थात् अन्धविश्वास पनि हटाउने प्रयास गर्दैछु भन्थे । तर, अहिले उनी आफैं अलप भएका छन् ।

चौधबीसाका मान्ठाहरूको घर अहिले पनि बर्खाभरि वनको पाटनमा कोतरेको जटामसी, वन लसुन, नक्कली च्याउ, सेतो चिनी र कटुकोले चलाइदिन्छ । पहिले सुकेका जडीबुटीलाई पिठ्युँमा बोकेर २४ दिनमा मान्ठाहरू नेपालगन्ज पुर्‍याउँथे । अहिले ७ वर्षअगाडि खुलेको कच्ची बाटो हुँदै व्यापारी आउँछन् । दैनिक ज्यालामा यहाँका मान्ठालाई खटाएर जुडीबुटी बटुल्छन् । बोलेरोमा चढेर लुम पुगेका उनीहरूले बजारका साथै फाइदा पनि खाइदिएका छन् ।
गाउँलेका हातमा पचास हजारदेखि एक लाख रुपैयाँ नगद पर्छ । यसबाहेक अन्य आम्दानीको स्रोत भेट्न मुस्किल छ । गाउँ डुल्दा जडीबुटीबाट पाएको रुपैयाँ कहाँ जान्छ होला भन्ने कौतूहल जाग्नु स्वाभाविक हो । किनभने उनीहरूको जीवनस्तरमा केही भिन्नता देखिन्न ।
हिउँ पर्दा चिसोबाट ट्टकी (बच्चाहरू) लाई जोगाउन दाउराको खोजीमा महिलाहरू साँझसम्मै व्यस्त हुन्छन् । कति त उब्जनी नहुने खेतमै नङ खोस्रिरहेका देखिन्छन् । प्रायः महिलाहरू बिहानै पटुकीमा मकैको रोटीसँगै नुन बेरेर वन जान्छन् । हिउँ पर्नुअघि नै गाई, बाख्रा र भेडाका लागि घाँस बटुल्नु जो पर्छ ।
व्यस्तताबीच स्याउलाको भारी बोकेर साँझको गोधूलिमा सुनकुली रावतलाई गाउँ छिर्ने गल्छेडामै भेटेँ ।
‘श्रीमान् कता हुनुहुन्छ ?’
एकै छिनको अलमलपछि उनले विद्यालय छेउको ठूलो घरमा छन् भन्ने उत्तर दिइन् ।
म उनले भनेको घरतिर लागेँ । काठले बनेको तीनतले घर । प्रत्येक तलामा चारचारवटा कोठा । म घरभित्र छिर्नेबित्तिकै मानिसहरू भागाभाग गर्न थाले । तासका पत्ताहरू फिँजिएको थियो । खाल एकाएक रित्तियो । भाग्दाखेरि घोप्टिएका गिलासहरूबाट आएको ह्वास्स गन्धले नाक र मथिंगल नमज्जासँग हल्लियो । त्यहाँबाट भागेका उनीहरू बाहिर एकअर्कासँग भलाकुसारी गर्न थाले । ‘नौलो मान्ठा देखेपछि ढुकढुक भयौं,’ भाग्नेमध्येका एकले सुस्तरी भने ।
‘डोरबहादुर विष्टको बारेमा खोज्दै आएको विद्यार्थी हुँ,’ भनेर परिचय दिएपछि स्थिति अलि सामान्य बन्यो । वडाध्यक्ष, स्कुलका मास्टर सबै यहीँ आउँदा रहेछन् । जडीबुटीको रुपैयाँ त्यस दिन मैले तासको खालमा छरपस्ट भएको देखेँ ।
तास अम्मलीलाई ट्टकीका किताब बोक्ने झोला च्यातिएको हेर्ने फुर्सद रहेनछ भनेर अनुमान लाउन मुस्किल भएन । साथै श्रीमती, दिदी, बहिनी र आमाहरूलाई कामको बोझ र पौष्टिक खानाको कमीले उमेरभन्दा अगाडि नै बूढ्यौलीले छोएको पनि उनीहरूलाई वास्ता थिएन ।
लोग्नेको प्रतीक्षामा चिसो दाउरालाई सुधारिएको चुलोमा अबेर रातिसम्म बालिराख्न आगो फुकिरहेका महिलाहरू सायद उनीहरू तासमा जितुन् भन्ने कामना पनि सँगै गर्छन् । तासमा हार्नेको घरबाट राति महिला रोएको चीत्कार आउँछ । हारे रन्को र रक्सीको मातमा लठ्ठिएको लाग्नेको कुटाइ खाएका महिलाका लागि हरेक रात चुक घोप्टिएझैं अन्धकार औंसी ।
एकाबिहानै म बसेको घरमा ७ जना महिला आइपुगे । सबभन्दा अघिकीले सुँक्कसुँक्क गर्दै भनिन्, ‘हामी यस्तै पीरकन बूढी भया हौं ।’ नौलो मान्ठालाई यस्तो कुरा बताएपछि मन हल्का हुन्छ कि भन्ने उनको आस हुँदो हो । तर, तासको खाल र रक्सीको मातलाई मैले कसरी रोक्नु ?
डोरबहादुर अलप भएको लगभग २५ वर्षपछि पनि लुम गाउँमा जडीबुटीको व्यवस्थापन र उचित प्रयोग भएको छैन । फाइदाजति बाहिरका व्यापारीले लगेका छन् र गाउँलेहरू केवल ज्यालामै रमाएका छन् । डोरबहादुर भएको भए यो स्थितिलाई कसरी विश्लेषण गर्थे होलान् ?

काठमाडौं आइसकेपछि डोरबहादुरले त्यसबखत काठमाडौं पठाएका शिवलाल रावत र गोविन्द बुढालाई खोज्न थालें । निकै दिनको प्रयत्नपछि अनामनगरको मोडमा जुम्लाको ओखर, स्याउ, सिमी र मह बेच्ने पसलमा रावत फेला परे । गोविन्दको पत्तो लागेन ।
शिवलाललाई लुमका बासिन्दाले जहिल्यै फोन गर्छन् र भन्छन्, ‘स्याउ, ओखर र मह किन्देऊ ।’ गाउँलेको आग्रह टार्न नसकेर घाटै खाएर पनि किन्दिन्छन् । सहरमा संघर्ष गर्दागर्दै गाउँ उनीबाट टुट्यो । वर्षौं भयो उनी लुम नपुगेको ।
‘म एउटा व्यक्तिले कहिलेसम्म स्याउ किन्दिराख्ने ?’ उनी प्रश्न सोध्छन् । म यसको उत्तर दिन सक्दिनँ । ‘पहिले पनि डोरबहादुर लागेर केही भएन चौधबीसामा, राज्य नै नलागेपछि अब एउटा रावतले के गर्ने ?’

Page 18
कोसेली

डायरीमा डोरबहादुर

- वसन्त थापा
डोरबहादुर विष्ट हराउनुअघि उनले प्रायोगिक अनुसन्धान गरेको चौधबीसा उपत्यकास्थित लुम गाउँ । दृश्यमा जवा नदी मास्तिरको पतरासी हिमाल । तस्बिर : रवीन्द्र ढकाल  

नेपाली ‘मानवशास्त्रका पिता’ भनेर ख्याति कमाएका प्राध्यापक डोरबहादुर विष्ट ९३ वर्षअगाडि आजकैदिन अर्थात् माघ ४ गते ललितपुरको काँठ झरुवारासीमा जन्मेका थिए । ‘पिपुल अफ नेपाल’, ‘सबै जातका फूलबारी’, ‘रिपोर्ट फ्रम ल्हासा’, ‘सोताला’, ‘फेटलिज्म एन्ड डेभेलपमेन्ट’ आदि पुस्तकका लेखक विष्टले जीवनको उत्तरार्द्धमा जुम्लाको चौधबीसामा कर्णाली इन्स्टिच्युट स्थापना गरेर त्यहाँको विकास कार्यमा योगदान गर्नुका साथै आफ्नो विषयमा स्थलगत तथा प्रायोगिक अनुसन्धान गर्दै आएका थिए ।
जुम्लाबाट हवाइजहाजमा नेपालगन्ज आएर कोहलपुरमा बस चढी चिसापानीतर्फ गएका प्रा. विष्ट त्यसपछि कहाँ गए अहिलेसम्म कसैलाई पत्तो छैन । उनी त्यसरी बेपत्ता भएको अहिले लगभग २५ वर्ष भएको छ । उनले लेखेका पुस्तकहरूमा ‘फेटलिज्म एन्ड डेभेलपमेन्ट’ सर्वाधिक चर्चित र विवादित रह्यो । अंग्रेजीमा लेखिएको त्यस पुस्तकको वसन्त थापाद्वारा नेपाली भाषामा अनुवाद भएको छ र त्यसको विमोचन पनि आजै हुँदै छ ।
लेखक वसन्त थापाको निजी डायरीबाट उद्धृत गरिएको यस लेखोटलाई सान्दर्भिक ठानेर प्रा. विष्टको ९३ औं जन्मदिनको अवसरमा प्रस्तुत गरेका छौं ।

मैले टुरिस्ट गाइडको तालिम लिँदा उनी ‘एन्थ्रोपलोजी’ पढाउँथे, नेपालका विभिन्न जातजातिबारे चिनारी गराउँथे । मृदुभाषी, सहज र आफ्नो विषयबारे पूर्ण अधिकार राख्ने उनको पढाउने शैली र भावभंगिमा विशेष किसिमको थियो । झन् अंग्रेजी उच्चारण त आफ्नै पाराको– नेपालीभाषीले बोलेको जस्तो पनि होइन, अमेरिकीहरूको सोझो नक्कल पनि होइन– दुवैको अलिअलि मिश्रण थियो क्यार ! त्यसैले उनी ‘आन्थ्रपालोजी’ भन्ने गर्थे । उनको ‘क्लास’ रोचक हुने गर्थ्यो र ज्ञानवर्द्धक । त्यो सन् १९७६ सालको कुरा हो ।
त्यसपछि फेरि उनलाई देखिनँ । एकैचोटि सन् १९९१ मा हो क्यार उनलाई फेरि देखें । अंग्रेजी ‘हिमाल’ पत्रिकाले गोर्खा भर्तीसम्बन्धी एउटा विचार गोष्ठी आयोजना गरेको थियो पाटनको होटल हिमालयमा । म पुग्दा उनी बोल्दै थिए र एकै छिनमा बिसाइ पनि हाले ।
यसबीच मैले उनका पुस्तक, लेख, रचना, अन्तर्वार्ता आदि पढें । उनको पछिल्लो किताब ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ ले त निकै चर्चा कमायो । उनलाई भेटेर कुरा गर्ने इच्छा सधैं मेरो मनमा थियो, तर संयोग जुरेको थिएन । त्यो संयोग हिजो जुर्‍यो ।
हिउँजस्तै सेता फुलेका कपाल ओढेको अनुहारमा समयले वृद्धत्वको नमेटिने र लुकाउन नसकिने छाप पारेछ । डोरबहादुर विष्टको आफ्नै भनाइमा उनको उमेर ६८ वर्ष भयो रे तर आफूलाई बूढो भन्दैनन् र मान्दैनन् पनि । त्यो दुई–अढाई घण्टाको बसाइ र कुरा गराइमा उनको दाबी असत्य ठहरिएन । मैले सन् १९७६ मा देखेको उनको शान्त र सौम्य रूप त्यहाँ थिएन । उनी आक्रामक भई बोल्थे र उनी कुनै युद्धमा होमिएका कटिबद्ध योद्धाझैं देखिन्थे । उनी आफ्ना मान्यता, प्रस्थावना र सिद्धान्तप्रति पूर्ण समर्पित र विश्वस्त लाग्थे । उनी स्वप्नद्रष्टाझैं धाराप्रवाह अभिव्यक्त भइरहन्थे । खास लक्ष्यमा पुग्न हिँडेको मानिसझैं उनी आतुरीमा भएको भान हुन्थ्यो ।
आफूलाई ‘मतुवाली खस’ भन्न मन पराउने डोरबहादुर विष्ट नेपालका राजालाई मगर जातिको सन्तान भन्छन् । नेपालको विकासमा सबैभन्दा ठूलो तगारो बाहुनवाद र त्यसले जन्माएको भाग्यवादी प्रवृत्तिलाई मान्छन् । उनी वस्तुतः यहाँको प्रत्येक समस्याको जड बाहुनवाद हो भन्ने मान्यता राख्छन्— यहाँसम्म कि काठमाडौंको फोहोरमैलाको मुख्य समस्या पनि बाहुनवाद नै हो भनी ठोकुवा गर्छन् । यसो भन्दा उनी मूढाग्रही देखिँदैनन् बरु तर्कसम्मत र ‘राशनाल’ देखिन्छन् । उनका यिनै अशास्त्रीय मान्यता र मथिंगल हुँडल्ने खालका विचारहरूले गर्दा उनी चर्चित हुन
पुगेका छन् र उनको आफ्नै शब्दमा ‘मित्रविहीन’ पनि ।
आफ्ना धेरै दौंतरीहरू बूढो भइयो भनेर कुना लागिसकेका छन् भने कतिचाहिँ कति दुःख गर्ने बुढेसकालमा भनेर आरामी जिन्दगी बिताइरहेछन् र एकाथरी भने तास खेलेर समय काटिरहेका छन् । त्यसैले त्यस्ताहरूसित आफू मिल्न नसक्ने कुरा बताउँछन्, ‘उमेरले बूढा र कामले तन्नेरी’ डोरबहादुर । उनलाई आफ्नो समय सीमित छ भन्ने राम्ररी थाहा छ, तर काम भने धेरै–धेरै भ्याउन चाहन्छन् । उनी काम गर्दागर्दै मर्न चाहन्छन्, बूढो भएर होइन । हामीलाई भर्खर सुरु गर्न लागेको उपन्यासका केही पानाहरू देखाउँछन् । आफैंले लेखेको पुस्तकको नेपाली संस्करणको खेस्रा अघिल्तिर सार्छन् र अनेक विषयमा एकसाथ लेखिरहेको बताउँछन् ।
लेखेर उनले जति नाम अथवा दाम कमाए सम्भवतः त्यति नै र त्यसभन्दा बढी शत्रुहरू पनि कमाए होलान् । तर, ती शत्रुहरूको सराप र खोइरो खनाइले उनलाई रत्तिभर विचलित पारेको छैन, बरु उनलाई झनै दृढ र कृतसंकल्पित पारेको छ । उनी यस उमेरमा काठमाडौंका यावत् सुखसुविधालाई पन्छाउँदै नेपालको अत्यन्त पछौटे ठाउँ जुम्लामा केही गरेर त्यहाँका अशिक्षितहरूलाई जम्जमाउने तरखरमा लागेका छन् । ईर्ष्यालाग्दो उत्साह र उमंगसाथ आफूले देखेको सपनालाई वास्तविकतामा अनुवाद गर्ने कार्ययोजनाहरू अल्छी नमानी बयान गर्छन् । राजनीतिदेखि टाढा धर्मदेखि विरत कर्मवादी डोरबहादुर आफू एक्लोले जे–जति दिन सकिन्छ, त्यो नेपाली समाजलाई दिएर जाने संकल्पसाथ कर्मभूमिमा लागिपरेका छन् । यति हुँदाहुँदै पनि उनी नेपालको विकास हुन्छ भन्ने कुरामा पटक्कै विश्वास राख्दैनन् । कारण ः बाहुनवाद । नेपालमा बाहुनवादको यस्तै हालीमुहाली रहिरहने हो भने अबको बीस वर्षमा काटमार मच्चिने ठोकुवा गर्न पनि हिच्किचाउँदैनन्, मानौं उनी सर्वद्रष्टा हुन् र नेपालको विकराल भविष्यलाई झल्झली देखिरहेछन् ।
हिजो उनलाई भेटेर अनि उनीसित कुरा गरेर लाग्यो, ‘मिसन’ भएका मानिस वा आदर्श बोक्ने मानिस सके यस्तै हुन्छन् । समयले उनका प्रस्तावनाहरूलाई गलत पनि साबित गरिदेला या उनी जुन ध्येयलाई अघि बढाउन खोजिरहेछन् त्यो भताभुंग पनि होला । तथापि जीवनपर्यन्त उनले बाँच्ने बडो राम्रो कारण पाइरहेछन् । जुन कारणका लागि उनी आफ्नो विद्वता र ज्ञानलाई काठमाडौंको तारे होटलका सभाकक्षहरूमा घन्काएर बसिरहन सक्थे । कूटनीतिक नियोगहरूमा हुने ‘ककटेल पार्टीहरूमा’ साँढे भएर पनि उनी आत्मसन्तुष्टि पाउन सक्थे । तर, यी सबैदेखि टाढा अनकण्टार ठाउँमा नयाँ चुनौतीहरूसित भिड्न उनले कम्मर कसेका छन्, जुन चुनौतीहरू उनका आफ्नै सिर्जना हुन् ।
हिजो डोरबहादुर विष्ट नामको त्यस ६८ वर्षे तरुनो बोलाकी र कर्मठ व्यक्ति देखेर मलाई केही खुसी लाग्यो, केही गर्व लाग्यो, केही प्रेरणाको अनुभूति भयो र केही ईर्ष्या र डाहा पनि लाग्यो । ईर्ष्या यस निम्ति कि उनले बाँच्ने आधार फेला पारेका रहेछन्, जिन्दगीको ‘मकसद’ भेट्टाएका रहेछन्, उनी एउटा मिसनमा भिडेका रहेछन् । खै मेरो के आधार, के मकसद र के मिसन ? ? ?
म उनीसित लामो वार्तालाप गर्न लालायित थिएँ र उनी पनि तत्पर । तर, मेरा मित्र मानधोज मोक्तानजीको छटपटी र समयाभावले त्यो लालसा अपूर्ण रह्यो । केही रिस पनि उठ्यो मोक्तानजीसित । फेरि सम्झें, आखिर उनकै कारणले र उनैले गर्दा त म भेट्न पुगेको थिएँ लेखक, विचारक, समाजशास्त्री, मानवशास्त्री र अरू के–के डोरबहादुरलाई, पुल्चोकस्थित उनको विशाल बगैंचायुक्त निवासस्थलमा !
१३ अगस्ट १९९४
सामाखुसी

Page 19
कोसेली

म्याडम गीता

- श्रवण मुकारुङ

हाम्रो पहिलो भेट
महिला मुक्ति आन्दोलनको दिन भएको थियो
गुप्तचर र आन्दोलनकारीहरुले घेरिनुभएको थियो तपाईं
तपाईंको हातमा
‘आदिवासी आवाज’ नामको बुलेटिन थियो

बुङ्बुङ्ती उडिरहेको धूलो
र चर्को घाममुनि
कलेजी रङको कुर्ता–सुरूवालमा
ठिंग उभिनुभएको थियो तपाईं
देहातको कुनै खडेरीग्रस्त खेतमा
मुस्किलले
पसाउन लागेको केराको बुङ्गाझैं
अथवा
असंख्य हिन्दुहरुका बीचमा तसलीमा नसरीनझैं
वा,
असंख्य मुस्लिमहरुका बीचमा मलालाझैं
अथवा
असंख्य बुद्धिस्टहरुका बीचमा बुद्धझैं
वा,
असंख्य क्रिस्चियनहरुका बीचमा
जिससझैं
अथवा
घना अन्धकारबीच
बतासले हल्लाइरहेको दीपझैं
कुनै सुदूर सपनाको उज्यालोले
धप्प बलिरहनुभएको थियो तपाईं

शृङ्गारका नाममा
घुच्चुकमाथि
गुजुल्टो पारिएको केशराशिभित्र नीलो डट्पेन थियो
कलिलो खुट्टामा आधा खिइएको कालो सेन्डिल
र सेन्डिलभित्र –
यात्राले चिथोरेको जब्बर कुर्कुच्चा थियो
त्यही कुर्कुच्चाको गति कल्पेर मैले
पहिलोपल्ट सोधेको थिएँ–
‘हजुरको शुभ नाम के होला ?’
अन्कनाउँदै
उत्तर दिनुभएको थियो तपाईंले –
‘गीता ।’
सर्माउँदै
फेरि सोधेको थिएँ मैले –
‘घर कता पर्‍यो कुन्नि ?’
सहजै
बताउनुभएको थियो तपाईंले –
‘गोरखा ।’

के गर्दै हुनुहुन्छ ?
पढ्दै छु ।

कहाँ ?
पद्मकन्यामा ।

हातको त्यो के होला ?
हाम्रो पत्रिका ।

तपाईं पत्रकार हो ?
सिक्दै छु ।

फोन नम्बर पाउन सकिन्थ्यो कि ?
पत्रिकामा छ ।
त्यसपछि
हात फैलाएको थिएँ मैले
पत्रिका थमाउनुभएको थियो तपाईंले ।

म्याडम गीता !
वास्तवमा त्यतिबेला तपाईंलाई पत्तै भएन
कि, आफ्नो जीवनमा आइपर्ने यति ठूलो घुम्तीको
यति कठिन र पट्यारलाग्दो यात्रा तय गर्न तपाईं
कति सजिलै
यसरी स्टेट्मेन्ट दिइरहनुभएको छ
मानौं
एउटा चाटुकार साहुले अचानक
इमानदार नोकर फेला पारेपछि
स्वाङ पार्दै अन्तर्वार्ता लिइरहेको छ, तपाईं दिइरहनुभएको छ
मानौं
विश्व शान्तिका लागि
ट्रम्प प्रश्न सोधिरहेछ, सुलेमानी उत्तर दिइरहेछ ।

कलेज पस्नुअघि
कलेजबाट निस्कनासाथ
अफिस छिर्नुअघि
अफिसबाट निस्कनासाथ
जुलुसमा मिसिनुअघि
जुलुसबाट फर्किनासाथ
डेरा पुग्नुअघि
डेराबाट निस्कनासाथ
...
एक दिन आखिर
हार खानुभो तपाईं
र तयार हुनुभो –
एक आधुनिक बँधुवा मजदुर हुन
हुनुभो – म्याडम गीता ।

बच्चाहरु भए
कलेज छुट्यो
पत्रकारिता छुट्यो
समाजसेवा
आन्दोलन
जुलुस धर्ना
भाषण सब छुट्यो ।
आइलाग्यो –
जुठो भाँडा
मैलो लुगा
फोहोर चोटाकोठा
श्रीमान्को कमिजको खुस्किएको टाँक
आइरन, पालिस, कुचो, टिफिन, स्कुल फी
र कवि

यसरी तपाईंको यात्राको दूरी
मात्र साढे एक किलोमिटरमा खुम्चियो अचानक
तय भयो – घरदेखि बच्चाहरुको स्कुल
र स्कुलदेखि लोग्नेको घर ।

आश्चर्य !
तर आज तपाईं
यी सब छोडेर
अघिदेखि नुहाइरहनुभएको छ बाथरूममा
र म,
तपाईंले आफ्नो शरीरमा खन्याइरहनुभएको पानीको कडा संगीत
सुनिरहेको छु यहाँ ।

म्याडम गीता !
म कम्युनिस्ट कवि हुँ
लौ न
हाम्रो पहिलो भेटको त्यो महान् दिनको याद आयो मलाई
म, क्रान्तिले उद्वेलित भइरहेछु अहिले
यदि तपाईं –
खोल्नुहुन्छ भने बाथरूमको ढोका
तफाईंलाई म
निसर्त टाबेल टत्र्याउन तयार छु ।

कोसेली

दिव्योपदेश : प्रामाणिक कि अप्रामाणिक ?

- सुजित मैनाली

एक
गत शनिबार कान्तिपुर ‘कोसेली’ ले पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ को (अ) प्रामाणिकताबारे चर्चा गरेका तीनवटा सामग्री प्रकाशन गर्‍यो । तीमध्ये ‘अप्रमाणित ‘दिव्योपदेश’ !’ शीर्षकमा पत्रकार
सङ्गीतको लेख केही वर्ष हतार गरेर लेखिएको देखिएकाले र यो प्रमाणबिनाका ठूल्ठूला दाबीले भरिएकाले यसबारे टिप्पणी गर्न आवश्यक ठानिएन । कोसेलीमै ‘९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ कहाँ थियो ?’ शीर्षकमा छापिएको इतिहासकार प्रत्यूष वन्तको र ‘शंका गर्नु नै अप्रामाणिक हो’ शीर्षकमा छापिएको अर्का इतिहासकार दिनेशराज पन्तको अन्तर्वार्तामाथि चाहिँ विमर्श आवश्यक छ ।

दुई
वन्तले अन्तर्वार्ताकारबाट ‘दिव्योपदेश’ को प्रामाणिकतामाथि प्रश्न उठाइएपछि भनेका छन्, ‘१९९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ लाई रिफर गर्दै लेखिएको कुनै पनि अर्को चीज खासै देखा पर्दैन... पृथ्वीनारायण शाहले ‘दिव्योपदेश’ एकै स्थानमा बसेर भनेनन् । यो पनि मानौं, विभिन्न कालमा उनले भनेका कुरालाई कसैले लिखित सामग्रीको रूपमा राख्यो । तर, ९० सालको भुइँचालोसम्म किन यो कतै उल्लेख भएन वा प्रकाशमा आएन ? ...विसं १९९० मा भुइँचालो जान्छ, त्यसपछि बाबुराम आचार्यले... लेख्नुहुन्छ— फलानो–फलानो बस्नेतको भुइँचालोले भत्काएको घरमा ‘दिव्योपदेश’ भेटियो । र, त्यो टेक्स्ट सूर्यविक्रम ज्ञवालीलाई १९३५ को पृथ्वीनारायण शाहबारे जीवनी... लेख्न उहाँले उपलब्ध गराउनुहुन्छ... त्यो टेक्स्टमा पृथ्वीनारायण शाहलाई शंका नगरौं तर यति लामो समयसम्म हराएर १९३४/३५ तिरै किन निस्कियो ?’
वन्तले ‘खासै’ प्रयोग गर्न आवश्यक छैन । किनकि बख्शी अभिमानसिंह बस्नेतका सन्तति बखतमानसिंहको घरमा फेला परेको ‘दिव्योपदेश’ को लिखत उतार गरी बाबुराम आचार्यले सूर्यविक्रम ज्ञवालीलाई दार्जिलिङ पठाउँदै गर्दा र त्यसअघि लेखेका एकाध पत्र र ज्ञवालीले त्यसको उपयोग गरेर लेखेको सामग्री (१९९२) नै ‘दिव्योपदेश’ उद्धृत गरिएका हालसम्म ज्ञात भएमध्येका पहिला सामग्री हुन् । त्यसपछिका दिनमा नयराज पन्तले बखतमानसिंहकै घरमा फेला परेको सामग्रीमा आधारित रहेर १९९६ मा काव्य तयार गरेका थिए । तर, नेपाली भाषा प्रकाशिनी समितिको अनिच्छाले गर्दा त्यसले पुस्ताकाकार रूप लिन सकेन । पन्तकै सहलेखनमा २००४ मा छापिएको ‘नेपालको संक्षिप्त इतिहास’ मा चाहिँ त्यसको प्रयोग भयो (नयराज पन्त आदि, श्री ५ पृथ्वीनारायण शाहको उपदेश, २०२५, पृ. ५) । २००७ सालपछि पृथ्वीनारायणको व्यक्तित्वमाथि प्रकाश पार्ने क्रम तीव्र भयो । यही मेसोमा योगी नरहरिनाथले बखतमानसिंहकै घरमा पाइएको सामग्रीको उतार ‘श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश’ शीर्षकमा २००९ मा प्रकाशन गरे । त्यसलगत्तै २०१० मा त्यही सामग्री बाबुराम आचार्य र योगी नरहरिनाथको संयुक्त सम्पादनमा पृथ्वीनारायणको जन्मदिन पारेर ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’ शीर्षकमा प्रकाशन भयो । त्यसपछिका दिनमा सो लिखत ‘दिव्योपदेश’ का नामले चर्चित हुन पुग्यो । उपदेशअगाडि ‘दिव्य’ जोड्नुलाई अनुपयुक्त ठहर गर्दै नयराजले संशोधन मण्डलमा आबद्ध आफ्ना तीन जना बटुक देवीप्रसाद भण्डारी, गौतमवज्र बज्राचार्य र दिनेशराज पन्तलाई साथ लिएर २०२५ सालमा ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ नामको ग्रन्थ प्रकाशन गरे । संशोधन मण्डलले गरेको पृथ्वीनारायणको उपदेशको व्याख्या बढी गहकिलो भए पनि महिमामण्डनको नियतसहितको ‘दिव्य’ शब्दलाई यसले जनजिब्रोबाट विस्थापित गर्न सकेन ।

तीन
‘दिव्योपदेश’ को प्रामाणिकतामाथि प्रश्न उठाइएको यो पहिलो सन्दर्भ होइन । कमलप्रकाश मल्लले पहिलोपटक २०४० पुसमा मेरी सेफर्ड स्लसरको किताबबारे समीक्षा लेख्दा ‘दिव्योपदेश’ लाई ‘अ लेट म्यानुस्क्रिप्ट’ अर्थात् ‘पछि तयार पारिएको लेखोट’ भनेका थिए
(कन्ट्रिब्युसन्स टु नेपलिज स्टडिज, ११(१), पृ. १२५–१३३) । तर, यसबारे व्याख्या गर्नु त परै जाओस्, थप एक शब्द पनि उच्चारण गरेका थिएनन् । त्यसको ३६ वर्षपछि जोन ह्वेल्पटनको एउटा किताबको समीक्षा गर्ने क्रममा मल्लले ‘दिव्योपदेश’ सम्बन्धी आफ्नो दाबी पुष्टि गर्न दुईवटा तर्क अघि सारे । पहिलो, पृथ्वीनारायणले पठाएका चिठी र ‘दिव्योपदेश’ को शैली र अन्तरवस्तु पृथक् छन् । दोस्रो, गोरखाको ग्रामीण परिवेशमा हुर्किएका पृथ्वीनारायणले ‘दिव्योपदेश’ मा उल्लिखित अर्थतन्त्र र व्यापारसम्बन्धी धारणा राख्नु अमिल्दो छ (युरोपियन बुलेटिन अफ हिमालयन रिसर्च २९–३०, सन् २००६, पृ. १७८–१८३) । समीक्षा प्रकाशन भएपछि ह्वेल्पटनसँगको एउटा पत्रचारमा मल्लले सूर्यविक्रम ज्ञवाली र बाबुराम आचार्यले जोडजाड गरेर ‘दिव्योपदेश’ तयार गरिदिएको बताएका रहेछन्, जसको खुलासा मल्ललाई लेखेको सार्वजनिक जवाफमा ह्वेल्पटनले गरिदिएका छन् (युरोपियन बुलेटिन अफ हिमालयन रिसर्च ३१, सन् २००७, पृ. १७८–१८३) । सोही प्रसंगमा ह्वेल्पटनले भक्तपुरमा केही समय बसिसकेका पृथ्वीनारायणलाई चन्द्रागिरि डाँडाबाट कसैले ‘त्यो काठमाडौं, त्यो पाटन र त्योचाहिँ भादगाउँ हो’ भनी देखाउनु अमिल्दो रहेको भनी डच मानवशास्त्री बर्ट फन डेन हकले ‘दिव्योपदेश’ को अप्रामाणिकताबारे चर्चा गर्ने सन्दर्भमा उठाएको मौखिक प्रश्नबारे पनि उल्लेख गरेका छन् । तर, मल्ल र हक दुवैको दाबी चित्तबुझ्दो नरहेको ह्वेल्पटनको जिकिर छ । नेपाल महात्म्य नवौं शताब्दीको दस्तावेज हो भनी गरिएको दाबीको खण्डनमा विस्तृत लेखेका मल्लले ‘दिव्योपदेश’ को अप्रामाणिकताबारे ठोस प्रमाण र तर्क अघि सार्न नसकेको उनले लेखेका छन् । साथै २०४० सालमा स्लसरको किताबको समीक्षा गर्ने क्रममा मल्लले संशोधन मण्डलको माथि उल्लिखित ग्रन्थको आलोचना गर्ने क्रममा ‘दिव्योपदेश’ को प्रामाणिकतामाथि प्रश्न नउठाइएको लुड्विग स्टिलरको ‘पृथ्वीनारायण साह इन द लाइट अफ दिव्योपदेश’ लाई राम्रो ठहर गरेर परस्परविरोधी दृष्टिकोण राखेकोतर्फ पनि औंल्याएका छन् । वन्तभन्दा अगावै ह्वेल्पटनले ‘दिव्योपदेश’ त्यति लामो समयसम्म फेला नपर्नुको कारणबारे अनुसन्धान हुनुपर्नेतर्फ औल्याउँदै गर्दा यत्तिकै आधारमा ‘दिव्योपदेश’ लाई अप्रामाणिक भनि पन्छाउनचाहिँ नमिल्ने निष्कर्ष निकालेका थिए ।

चार
‘दिव्योपदेश’ को प्रामाणिकतालाई लिएर उठाइने प्रश्नलाई दुई श्रेणीमा राखेर हेर्नु उपयुक्त हुन्छ । पहिलो हो, सत्यलाई अझ परिशुद्ध गर्ने प्राज्ञिक प्रयत्न । ह्वेल्पटन र वन्तले गरेका प्रयत्नलाई यही श्रेणीमा राख्नु उपयुक्त हुन्छ । दोस्रो हो, राजनीतिक अभिष्टमुखी प्रयत्न । यस्तो प्रयत्न कमलप्रकाश मल्लबाट सुरु भएर आजका मितिसम्म छिटफुट रूपमा जारी रहेकाले यसबारे संक्षेपमा टिप्पणी गर्नु सामयिक हुन्छ ।
पृथ्वीनारायणको दृष्टिकोणलाई समग्रमा होइन, खण्ड–खण्डमा बुझ्नु बढी वैज्ञानिक हुन्छ । ससुराली राज्य मकवानपुर र जेठानसँग बदला लिने विशुद्ध व्यक्तिकेन्द्रित मनोभावबाट पृथ्वीनारायणको राज्यविस्तार अभियान सुरु हुन्छ । अभियान सफल हुँदै जाँदा आधुनिक राजनीतिक चेतको पुट पाएर त्यो परिवक्व बन्दै जान्छ । जीवनको उत्तरार्द्धतिर पृथ्वीनारायणमा विस्तारित राज्य अखण्ड, दीर्घजीवी रहनुपर्छ भन्ने भाव प्रबल रहेको पाइन्छ । यसका लागि राज्यले लिनुपर्ने विदेशनीति, सैन्य नीति, सामाजिक नीति, आर्थिक नीति आदिसम्बन्धी उनको दृष्टिकोण ‘दिव्योपदेश’ मा समाविष्ट छन् । तत्कालीन परिवेश झल्किने सन्दर्भहरूलाई बिर्सिदिने हो भने ‘दिव्योपदेश’ का कतिपय अंश आज पनि सामयिक छन् । ‘यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ’, ‘यक दिन त्यो बल (तत्कालीन इस्ट इन्डिया कम्पनी अर्थात् अहिलेको भारत) आउन्या छ...चुरेघाटिमा षुपै काटिन्या छ’ आदि केही उदाहरण हुन् ।
सत्ता परिवर्तनसँगै पुराना सत्ताका जह्राहरूको समग्र मूलच्छेद गरिनुपर्छ, यसका लागि इतिहासका नराम्रा पाटोको भण्डाफोर गर्ने होइन अपितु पुरानो सत्ताले टेकेको इतिहासको समग्र आधार नै ध्वस्त गरिदिनुपर्छ भन्ने ‘क्रान्तिकारिता’ को मिति गुज्रिएको रूढ मान्यताले दोस्रो जनआन्दोलनपछि प्राज्ञिक, राजनीतिक र सामाजिक/संस्कृतिक क्षेत्रमा प्रश्रय पायो । यही प्रयोजनका लागि पृथ्वीनारायणलाई सुनियोजित रूपमा तारो बनाइयो । उनको दानवीकरणको शृंखलालाई गति दिइयो । नयाँ परिवेशमा तिखारिनुपर्ने थियो, इतिहासलाई हेर्ने आलोचनात्मक चेत । परन्तु यावत् ऊर्जा पृथ्वीनारायण र उनले आरम्भ गरेको इतिहासको धारलाई गलत देखाउनमा खर्च गरियो ।
तमाम प्रयत्न गर्दा पनि यस्तो अभियानमा लागेकाहरूले ‘दिव्योपदेश’ का अन्तरवस्तुलाई गलत करार गर्न सकेका छैनन् । त्यसैले समग्र ‘दिव्योपदेश’ लाई अप्रामाणिक घोषणा गरेर लक्ष्य फत्ते गर्ने जमर्को गरिरहेका छन् । तर, यसो गर्दैगर्दा एउटै प्रमाण पनि पेस गर्न सकेका छैनन् । उदाहरणका लागि राजेन्द्र महर्जनले २०७० पुस २५ को कान्तिपुरमा लेखेको ‘दिव्योपदेश र हेगियोग्राफी’ शीर्षकको लेखलाई लिन सकिन्छ, जहाँ ‘दिव्योपदेश’ लाई ठाडै अप्रामाणिक नभनिए पनि त्यस्तै भाव प्रसारित हुनेगरी लेखको ढाँचा तय गरिएको छ (पृ. ७) । ‘दिव्योपदेश’ को प्रामाणिकताबारे सन्देह जगाउन लेखमा योगेश राजले ‘द जर्नल अफ क्याप्टेन किनलक’ (सन् २०१२) किताबको एउटा पादटिप्पणी (पृ. १९) मा ‘दिव्योपदेश’ का लेखक र कालनिर्णय विवादास्पद रहेको भनी उल्लेख गरेको प्रसंग उद्धृत गरिएको छ । ‘दिव्योपदेश’ को कालनिर्णयको प्रसंग योगेश राजले महेशराज पन्तको पुस्तिका ‘इनेप्ट स्पेसिमेन ?’ (सन् १९८४) बाट लिएका हुन् । महेशराज पन्तदेखि योगेश राज र प्रत्यूष वन्तसम्मले ‘दिव्योपदेश’ को विवरण पृथ्वीनारायणको अभिव्यक्ति होइन भनि निर्क्योल नगरेको, यसका लेखनदास र लामो समयसम्म यो सार्वजनिक नहुनुको कारणप्रति मात्र जिज्ञासा व्यक्त गरेको तथ्यतर्फ ध्यान दिनु वाञ्छनीय हुन्छ ।

पाँच
अन्तर्वार्तामा प्रत्यूष वन्तले ‘९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ कहाँ थियो ?’ भनी गरेको प्रश्नको जवाफमा केही प्रतिप्रश्न तेर्स्याउन सकिन्छ । सेसिल बेन्डलले वीर पुस्तकालयमा गोपालराज वंशावली फेला पार्नुअघि त्यो कहाँ थियो ? भगवानलाल इन्द्रजीले मानदेवको चाँगु अभिलेख छाप्नुअघि त्यतिका वर्षसम्म त्यसमाथि कसैको नजर पर्न किन सकेन ? कौटिल्य अर्थशास्त्रको पाण्डुलिपि २० औं शताब्दीको आरम्भतिर फेला पर्नुअघि सयौं वर्षसम्म त्यो कहाँ थियो ? यस्ता प्रश्नले ऐतिहासिक सामग्री गर्तमै रहिरहनुका कारणबारे उत्खनन गर्न प्रेरेणा देलान्, तर तिनले उत्खनन भएका सामग्रीको प्रामाणिकताबारे मत जाहेर गर्न सक्दैनन् ।
‘दिव्योपदेश’ फेला परेको बेला नेपालमा राणाशाही थियो । त्यतिबेला शाह राजाका पुर्खाको होइन, राणाका पुर्खाको महिमामण्डन गरिन्थ्यो । पृथ्वीनारायणबारे खोजबिन गरेर छापिएका सामग्रीलाई तत्कालिन सत्ताले प्रवर्द्धन गर्नु त परै जाओस्, रुचाएको पनि थिएन भन्ने कुरा गोरखापत्र (३ जेठ १९९३) मा छापिएको पृथ्वीनारायणको जीवनसम्बन्धी सूर्यविक्रम ज्ञवालीको किताबको समीक्षा पढ्दा पनि महसुस हुन्छ ।


विभिन्न इतिहासकारले ‘दिव्योपदेश’ को लिखतको कालनिर्णय गर्ने जमर्को गरेका छन् । ती प्रयासबाट बखतमानसिंहको घरमा पाइएको लिखत पृथ्वीनारायणको निधन भएको वर्षौंपछि उतारिएको हो भन्ने स्पष्ट हुन्छ । तर, यत्तिकै भरमा त्यसलाई अप्रामाणिक ठहर गर्नु हतारो हुन्छ ।
यसका केही कारण छन् । पहिलो, मूलप्रति फेला नपर्दैमा त्यसको उतार गरिएकोप्रति अप्रामाणिक ठहरिँदैन । होइन भने वेद, उपनिषद्देखि रामायण र महाभारतसम्मलाई अप्रामाणिक मान्नुपर्ने हुन्छ । संस्थागत स्मृति सबल राख्ने सवालमा नेपालसहित भारतीय उपमहाद्वीपको समग्र समाज पश्चिमी मुलुकभन्दा निकै पछाडि छ । महाभारतको पुने संस्करणका अनुसार, महाभारतको सबैभन्दा पुरानो प्रति सन् १५११ मा तयार गरिएको थियो र त्यो प्रति नेपालमा पाइएको थियो । पछिका उतारमा प्रक्षिप्त अंश परेको चाहिँ हुन सक्छ । सूक्ष्म अध्ययनबाट त्यसको निरुपण गर्न सकिन्छ ।
दोस्रो, पृथ्वीनारायणले ‘थरघर’ समक्ष दिएको उपदेश ‘थरघर’ का भारदारहरूले लिपिबद्ध गरेर राखेका थिए भनी अनुमान गर्न सकिने आधार बलियो छ । पृथ्वीनारायणको उपदेश उनको ‘अन्तिम इच्छा’ प्रतीत हुन्छ जसमा बस्नेत, पाँडे, मगर, गुरुङ, खस, ठकुरी, बाहुन भारदार तथा सैनिकलाई राज्यले कस्तो जिम्मेवारी दिने भनी किटान गरिएको छ । तत्तत् परिवारका भारदारले पृथ्वीनारायणको उपदेश उतारेर सुरक्षित राख्नु र ‘थरघर’ का अन्य सदस्यले त्यसको उतार आफ्नो संग्रहमा राख्ने क्रमलाई निरन्तर्ता दिँदै जानु धेरै सम्भव छ ।
तेस्रो, पृथ्वीनारायणसम्बन्धी फेला परेका आरम्भका दस्तावेजहरूमा ‘दिव्योपदेश’ पनि पर्छ । त्यसपछिका दिनमा फेला परेका पृथ्वीनारायणको जीवन र विचारमाथि प्रकाश पार्ने संस्कृत र नेपाली भाषाका तत्कालीन साहित्यिक रचना, पत्राचार, वंशावली, अभिलेख आदिले ‘दिव्योपदेश’ को वर्णनलाई खारेज होइन, पुष्टि गर्छन् । त्यसैले कमलप्रकाश मल्ल र उनका अनुयायीले आचार्य, ज्ञवालीलगायतमाथि लगाएको आक्षेप अप्रामाणिक ठहर्छ ।
चौथो, बखतमानसिंहको घरमा पाइएको उतार पृथ्वीनारायणको निधन भएको वर्षौंपछि तयार गरिएको हो भनी पुष्टि गर्ने एक मात्र आधार त्यसको प्रशश्ती हो, जसमा पृथ्वीनारायणलाई ‘श्री ५’ र ‘बुढा महाराजा’ भनिएको छ । त्यस्तो प्रशस्ती लेख्ने चलन पृथ्वीनारायणपछि सुरु भएको हो । ‘दिव्योपदेश’ को उतार गर्दा प्रशस्तीलाई समयानुकूल बनाउन खोजिएको देखिन्छ । उतारको मूलखण्ड हुबहु साभार गरिएको हो/होइन भनी निरुपण गर्नु प्रमुख चुनौती हो । यसका लागि ‘टेक्स्चुअल क्रिटिसिजम्’ को साहारा लिनुपर्ने हुन्छ, जुन त्यतिबेला प्रयोग हुने भाषा र तत्कालीन अभिलेख्य प्रमाणहरूमा बलियो पकड भएको व्यक्तिले मात्र गर्न सक्छ । पृथ्वीनारायणसम्बन्धी अभिलेख्य प्रमाणबारे सबैभन्दा बढ्ता काम गर्ने इतिहासकारमा दिनेशराज पन्त पर्छन्, जुन कुरा वन्तले पनि अन्तर्वार्तामा स्विकारेका छन् । कान्तिपुर ‘कोसेली’ कै अन्तर्वार्तामा दिनेशराजले ‘दिव्योपदेश’ को प्रामाणिकताबारे गरिएका आशंकालाई ‘अप्रामाणित शंका’ को दर्जा दिएकाले तथा नेपाली इतिहास लेखनका दुवै मुख्य धार (पाश्चात्य र नेपाली) ले ‘दिव्योपदेश’ को प्रामाणिकतालाई स्विकारेकाले थप अनुसन्धानबिनै यसमाथि उठाइने फ्रश्न
कमजोर ठहर्छ ।
@sujitmainali

Page 20
कोसेली

विरोधाभासको इन्द्रजालमा सिनेमा–बहस

- मनोजबाबु पन्त

बीसौं सदीको मध्यतिरको कुरा हो, जुन बेला जुग महान युद्ध लड्न व्यस्त थियो, जवान आत्माहरूको लासको पसारो लगाएर सभ्यता गजबको गाथा लेखिरहेथ्यो इतिहासमा । ठीक त्यसैबेला, आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाउन थालेको सिनेमा भने आफ्नै अस्तित्व संकटको अप्ठ्यारो युद्ध लडिरहेको थियो । अन्य विधाहरूको कोपभाजनको ठेड्कोमा सिनेमा भन्ने जिनिस आफ्नो स्वतन्त्र अस्तित्व गुमाउने हैसियतमा पुगिसकेको थियो । आफ्नो मौलिक सौन्दर्य निर्माण गर्न खोज्दै गर्दा सिनेमाले कथा, उपन्यास र नाटकबाट यति धेरै खजाना सापटी माग्यो कि, सिनेमाको स्वरूप खिचिएको नाटकजस्तो अथवा देखिने कथाजस्तो मात्र बनिदियो ।
खण्डहरहरूमा बेस्वादसँग दुःखी–मरेका लासहरूको पसारो लगाएर महान युद्ध सुस्ताएको थियो । तिनै भूतबंगलाहरूमा घोत्लिएर ध्यान गर्दागर्दै, कला साहित्य र दर्शनमा मानवीय अस्तित्वका गम्भीर प्रश्नहरू थल्थलाएका थिए । त्यसै बेलातिर सिनेपारखीहरूले भने सिनेमाको मियो समाउन खोजे र एउटा स्वतन्त्र कलाको रूपमा यसको अस्तित्वका रूपरेखा निर्माण गर्न खोजे । फ्रंसुवा त्रुफोले फ्रेन्च सिनेमाहरूलाई गाली गर्दै लेखेको एउटा लामो लेखले फ्रेन्च सिने जगत् थर्कमान भएथ्यो । उनले बनिरहेका साबिकका सिनेमालाई ठाडो गाली गरे । किताबबाट सारेर सिनेमा निर्माण गर्ने फ्रेन्च सिने–परम्पराले सिर्जना गरेको गम्भीर संकट औंल्याए । कथा, उपन्यासमा पहिल्यै लेखिसकिएका आरोह–अवरोहहरू सिनेमाको रूपमा आउँदा, सिनेमाको अस्तित्व सधैँ साहित्यको भरिया मात्रै भइदियो भन्ने उनको आरोप थियो । अझ गम्भीर आरोप के थियो भने लेखनीको भाषाबाट दृश्य भाषामा आउँदा कति अवयवहरू बाटोमै छुटिजान्थे । किताबको अथाह सागरभित्र थोरै प्रतिशत मात्र सिनेम्याटिक सम्भावनाका संकेतहरू रहन्थ्यो । अतः सिनेमा एउटा यस्तो भरियाझैं थियो, जो आफैं विकलांग छ । तर, डोकोभरि ठेलमठेल कथा–कथनीको भारी बोकेर अँध्यारो बाटोमा सकीनसकी घस्रिरहेछ ।
सिनेमामा एउटा छुट्टै कलाको रूपमा आफ्नै संकेतहरू छन् कि छैनन् ? कथा, उपन्यास, नाटक र पेन्टिङका मसला मोलेर पाक्ने स्वादे क्वाँटी मात्रै पो हो कि अथवा अन्य कलामा नभेटिएका संकेतहरू सिनेमाको भाषाले बोल्छन् ? फ्रेन्च नवलहरसँग जोडिँदै पश्चिम दिशाका मुलुकमा सिनेमा सौन्दर्यका संकेतहरू उत्खनन हुने प्रयास निरन्तर थियो ।
सिनेमा दृश्यविधा भएकाले चित्रकलासँग स्वभावैले गाँसिएको थियो । चरित्र र नाटकीय उल्झनहरूको प्रस्तुतीकरण गर्दा ऊ नाटकको कोड्सहरूसँग अछुतो रहन सक्ने थिएन । अनि कथ्यको निर्माण गर्दै जाँदा कथा–उपन्यासको परम्परालाई अनुसरण गर्नु नै थियो । स्वाभाविक रूपमा यी विधाहरू सिनेमामा टाँसिएका छन् । तर, यी प्रभासँगसँगै सिनेमासँगको आफ्नै निरपेक्ष संकेतहरू के थिए ? जुन उसको निजी स्वभाव थियो ।
अन्य विधाका प्रभाबले प्रदूषित भएर भ्रमित बनेको सिनेमा कलालाई आफ्नो स्वतन्त्र अस्तित्व पत्ता लगाउने एउटा गजबको जुक्ति के थियो भने सिनेमाको माध्यममा अन्य विधाबाट घुस्न आएका तत्त्वहरूलाई हटाएर हेर्दा जे बाँकी रहन्छ त्यही नै शुद्ध सिनेमाको निजी स्वरूप हो । यसरी आजभन्दा पचास वर्षअघि आफ्नै स्वतन्त्र सौन्दर्यका मानकहरूसहित, सिनेमा सातौं कलाको रूपमा आफ्नो निजी अस्तित्व अजमाउन लागिपरेको थियो । ठीक त्यसै बेलातिर हाम्रो मुलुकमा भने कनीकुथी बल्ल–बल्ल सिनेमाले जन्म लिएथ्यो ।
स्थापनाको स्वर्ण जयन्ती मनाईवरी यहाँसम्म आइपुग्दा, हाम्रो सिनेमाको भाषाले सिनेमा सौन्दर्यमा सचेत हुनु त परको कुरा, विदेशी प्रभावमा पिल्सिएर आफ्नो मौलिक स्वरूप निर्माण गर्नसमेत सकेको छैन । स्थापनाकालदेखि नै भारतीय मूलधारे सूत्रहरूले देखाइदिएको चिप्लो बाटोमा लड्दै–पड्दै यहाँसम्म आइपुगेको सिनेमाको स्वरूपमा हाम्रो आफ्नो भन्ने धेरै सामग्री छैनन् । जन्मको पचास वर्षपछि आएर बल्ल आज–भोलि सिनेमाको मौलिकतालाई लिएर एकाध गम्भीर चिन्तनका मूल फुट्न थालेका छन् । सिनेमाको स्वतन्त्र सौन्दर्यबोधको बहसझैं मौलिक नेपाली सिनेमाको बहस पनि थुप्रै विरोधाभासका इन्द्रजालहरूले घेरिएका छन् । यो बहसमा पनि अलमलको जालो चिर्न एउटा जुक्ति निकाल्नुपरेको छ । हाम्रो सिनेमाको सौन्दर्यमा ठेलिएका विदेशी घिसिपिटी सूत्रलाई एकफेर सर्लक्क निकालेर हेर्दा जे–जति कुरा बाँकी रहन्छन्, त्यही नै हाम्रो निजी सिनेमाका मानक बन्न सक्ला । तर, डर के भने, सबै प्रभावबाट मुक्त गर्दा हाम्रो सिनेमामा केही पो बाँकी नरहला कि अथवा जे बाँकी रहला, त्यो सिनेमा नभएर अन्य कुनै जिनिसको थुप्रो पो रहला कि !
यहाँनेर एउटा बलियो विरोधाभासले झ्याप्प डेरा जमाउने उत्तिकै खतरा छ । सिनेमा आफैँमा अन्तर्राष्ट्रिय भाषा हो । यसको सौन्दर्यबोधलाई राजनीतिक सिमानाले छुट्याउनु उक्तिसंगत हो या होइन ? सम्भ्रान्त राष्ट्रहरूमा सिनेमाले जगजगी फैलाएको धेरै वर्षपछि मात्रै हामीले सिनेमाको स्वाद चाख्यौं । धेरै परबाट समुद्रहरू पार गरेर भारतीय सिनेमाले सिकेका बाचाकीका संस्कारहरू, खुला सिमा हुँदै हाम्रोतिर आइपुगे । एउटा यस्तो जिनिस, जो हामीभन्दा धेरै पर जन्मियो, उतै हुर्कियो, आफ्नो लोकप्रियताको जालो फिजिँदै हाम्रो दैलोसम्म आइपुग्यो, यो सुदूरदेखि आएको विदेशी मालमा हामिले हाम्रो मौलिकता खोज्नु नै मूर्खता हो भन्ने एकथरी अर्धसिल्ली तर्कहरू बजारतिर रग्मगाइरहेका भेटिन्छन् । यो तर्कभित्र लुकेको ध्रुवसत्य के हो भने, सिनेमा बन्नको लागि चाहिने केही आधारभूत अवयबहरू हुन्छन्, जुन संसारको जुन कुनामा पनि उस्तै हुन्छन् । जुनसुकै भूगोल, राष्ट्र र संस्कृतिले पनि ती आधारभूत तत्त्व छुटाउन सक्दैनन् । अनि अलिक गहिरिएर हेर्दा मानवीय संवेदनाका आकार पनि संसारभरि, मान्छे बाँचेका ठाउँमा उस्तै रहन्छ । त्यसैले त हामीहरू ल्याटिन अमेरिकाको कुनामा बुनिएको मान्छेको कथा सुनेर दक्षिण एसियाको कुनामा करुणा उमार्छौं । स्पष्ट छ— सिनेमाको भाषा मानवीय संवेदनाको सञ्चार गरिहिँड्ने विश्वब्यापी भाषा हो । यो अलमलको माखेसाङ्लोले सिनेमाको मौलिकताको ओझ कम भयो कि झैँ देखिन्छ । तर, चुरो कुरो कहाँ छ भने निश्चित आधारभूत संकेतहरू र साझा मानवीय संवेगहरू प्रस्तुत हुने तौरतरिकाचाहिँ राष्ट्र, समाज र संस्कृतिपिच्छे आफ्नै शैलीगत आकारहरू हुन्छन् । हामी ती शैलीमा सचेत हुन सकेनौं भने हामीले भन्ने संवेदनाका यात्राहरू झूटा, जाली र उडन्ते भइदिन्छन् । सतहमै रुमल्लिएका हाम्रा संवेदनाका आरोहणहरू अन्तराष्ट्रिय सिनेमाका मञ्चहरूमा पुग्न सक्दैनन् । पुगिहाले भने पनि ती सिनेमाले हाम्रो पहिचानको किलो गाड्न सक्दैनन् ।
प्रत्येक कलाको सौन्दर्यमा केही आधारभूत संकेत हुन्छन् । ती संकेत शास्वत रहन्छन् । ती संकेतबिना त्यो भाषा जिउँदो रहन सक्दैन । सिनेमाका आधारभूत संकेत पनि विश्वव्यापी रूपमा अपरिवर्तनशील शाश्वत रहन्छन् । त्यसपछि ती संकेतलाई प्रयोग गर्ने शैलीहरू हुन्छन् । शैलीहरू भने बारम्बार निर्माण भैरहन्छन्, विनिर्माण भैरहन्छन् । क्रान्तिकारी रूपमा आउने कुनै ‘आँवा–गार्द’ प्रयोगहरू बिस्तारै सर्वस्वीकार्य शैलीको रूपमा स्थापित भइदिन्छ र यसरी नै कलाको उडान, शैलीको निरन्तर निर्माणमा लागिरहन्छ । जब शैलीहरूको अत्यासलाग्दो पुनरावृत्ति भइदिन्छ र निश्चित संरचनाभित्र फसिदिन्छन्— ती शैलीहरू सूत्रमा परिवर्तन भैदिन्छ । संसारका धेरै मूलधारे सिनेमाले यस्तै बासी सूत्रहरू हसुरेर सिनेमा घरहरूमा बान्ता गरिरहन्छन् ।
बलिउड भन्ने कोठी यस्तै सूत्रहरूको गोदाम थियो कुनै बेला । हाम्रो सिनेमाले त्यही गोदामबाट थुप्रै सूत्र पैंचो माग्यो, त्यही सूत्रको सुकुल ओच्छ्यायो । हाम्रा आफ्ना कथाहरूलाई त्यही सूत्रहरूको सुकुलमा बिसायो । हाम्रा जीवन भोगाइलाई पनि त्यहीँ बिसायो । हाम्रा संवेदनाका यात्रालाई पनि त्यहीं बिसायो । हामीहरू यी सूत्रहरूको हिप्नोसिसले यति धेरै अभ्यस्त भयौं कि यी बासी सूत्रबाहिर पनि सिनेमाको अस्तित्व छ भन्ने कल्पना पनि गर्न सकेनौं । कति मूलधारे सूत्रजीवीहरू कहिलेकाहीँ बन्न खोजेका सिनेमाको नवीन आयामलाई सिनेमा नै भएन भनेर खिसीटिउरी गर्ने गर्छन् । उनीहरूको बुझाइमा बासी सूत्रहरू नाठोसिएका सिनेमाहरू सिनेमाको परिभाषाभित्र पर्दैनन् । बलिउड यतिबेला आफैँ ती सूत्रको गोदामबाट बाहिर चियाइरहेछ । तर, हामीहरू गति हराएर विचलित छौं । हाम्रो सिनेमाको स्वरूप निर्माण गर्ने यात्रामा सबैभन्दा पहिले सूत्रीय यात्रालाई त्यागेर, शैलीगत यात्राको छलाङ लगाउनुपरेको छ । अनि शैली निर्माणको बाटोतर्फ लागिरहँदा केही आधारभूत मानकहरूमा गम्भीर चिन्तनको खाँचो छ ।

१. विषय उठान
सिनेमा सौन्दर्यको किरणलाई समीक्षाको प्रिज्ममा छिरिहेर्दा यसका ४ थान निर्धारक प्रस्ट हुन्छन् । १. सामाजिक–राजनैतिक २. भावनात्मक ३. शैलीगत ४. आर्थिक । यीमध्ये अघिल्ला दुई निर्धारक भने विषयको उठानसँग सम्बन्धित छन् ।
हामीहरूले सिनेमामा के वाचन गरिरहेका छौं ? ती विषय हाम्रो समाजसँग कति रेलिभेन्ट छन् ? हामीले उठाएका विषय सामाजिक चेतनाको प्रभावबाट प्रस्फुटित छन् कि छैनन् ? यदि आफ्नो सिर्जनाप्रति सर्जक इमानदार छ भने, उसले बाँचेको परिवेश र त्यसले दिएका प्रभावहरू स्वतःस्फूर्त उसका सिर्जनामा आइपुग्छन् । त्यसले प्रत्येक चेतनाको निजी कथा प्रस्फुटन गर्न थाल्छ । सर्जक चाहे जतिसुकै स्वैरकल्पनाको यात्रामा लागोस् अथवा वैयक्तिक स्वप्नयात्राको विम्ब खिचोस्, ती सबै स्वतन्त्र उडानको स्रोत आफ्ना परिवेशहरू नै हुन्छन् । सिनेमाको भाषा परिवेशबाट परेको प्रभाव र त्यसको वस्तुनिष्ठ प्रस्तुतीकरणको तालमेलले बनेको हुन्छ भनिन्छ । तर, जब एउटा सर्जक सिनेमाको विषय उठान गर्न विदेशी सिनेमाको डीभीडी चक्काहरू उठाउँछ, बाटो त्यहीँबाट बिग्रिन्छ । प्रभावहरूको इमानदार सिर्जनाको बाटो छोडेर बाहिरी सूत्रहरूले भरिएका कोठे न्यारेटिभका यात्रा सुरु हुन्छ । अनि हामी समाज–इतर एलियनका कथ्य बुन्न थाल्छौं । हाम्रा परिवेश र पात्रहरूचाहिँ विदेशी बासी सूत्र बोकी हिँड्ने खेताला मात्र भइदिन्छन् । सतहमा नै प्रदूषण बोकेर आउँछन् हाम्रो समाज र पात्रहरू ।
सामाजिक–राजनीतिक चेतनाबाट आफ्नो सिनेमाको विषय उठान गर्ने केही जब्बर सर्जकहरू पनि हाम्रो फ्याटर्निटीमा उपस्थित छन् । तर, सामाजिक मुद्दा मात्रै वकालत गर्न खोज्दा जीवन भोगाइका सूक्ष्म तहहरू कतै छुटेका छन् र कुनै राजनैतिक अगुवाझैं, सिनेकर्मी मुद्धावाचक हुनपुगेका छन् । आम–संचारमा झुल्किरहने सामाजिक मुद्धाहरू र कथावाचकले खोज्ने सामाजिक प्रभावहरूमा तात्विक भिन्नता रहन्छ । मिडिया सधैँ मुद्धा खोजिहिँड्छ । साधारण जीवनका सूक्ष्म निरीक्षण समाचारको विषय बन्न सक्दैन । समाचार बन्नका लागि विशेष घटनाहरू चाहिन्छन् । यतिबेला च्याउझैं उम्रेका कोठे मिडियाहरू ट्रेन्डिङको भूत सवार गरेर गल्ली–गल्लीमा बलात्कारीहरू खोज्दै हिँड्दै छन्, टोलटोलमा हत्याराहरू ढुकिरहन्छन् । यस्तो लाग्छ, हाम्रो परिवेश बाँच्नै नसक्ने गरी कहालीलाग्दो भइसकेको छ । त्यस्तै भुइँचालोपछि अत्यधिक सलबलाएका अन्तर्राष्ट्रिय संस्थाहरू डलर पचाउन गाउँगाउँ चहार्दै छन् र मान्छेहरूलाई जबर्जस्ती दुःखी–पीडित बनाइरहेछन् । पपाराजीहरूले सिर्जना गरेको सिउडो न्यारेटिभभित्र समाजको वास्तविक संवेदना कतै हराएको छ । इमानदार कथावाचकको रूपमा यो विचलनको बाटो सोझ्याउन सचेत सिनेकर्मीको चेतनाको खाँचो छ । विषय–उठान गर्दा बासी सूत्रहरूको लेपनलाई त्यागेर आफ्नो परिवेशको भोगाइको गहिराइबाट जब इमानदार न्यारेटिभ सिर्जना हुने संस्कार सुरु हुन्छ, हाम्रो सिनेमाको स्वरूपको पहिलो खुड्किलो त्यतिबेलै उक्लिन्छ ।

२. मानवीय अवस्था
हाम्रो सिनेमाको सूत्रीय परम्पराले सुरुआतदेखि नै अतिरञ्जित मानवीय संवेदनाको भल बगाइरहेछ । मानव–इतर आर्किटाइप्सको पसार छन् तर गुण र दोषसहितको खाँट्टी मान्छे हाम्रो सिनेमाको पर्दाबाट बेपत्ता छ । हाम्रो उद्यानको मूल ढोकामै टाँसिदिए हुन्छ, ‘मानिस हराएको सूचना ।’ भारतीय अति नाटकीयताको काखमा हुर्किएको हाम्रो सौन्दर्यचेतले अतिरञ्जित जीवन संवेगहरू छापिरह्यो निरन्तर । पुराना खद्दरका कपडाहरूले पेट उकासेर, अनुहारमा मोसो घसेर विकृत स्वरूपमा मान्छे हँसाउने मस्काराहरूले खनेको हाम्रो प्रदर्शनी कलाको बाटो, आजसम्म आइपुग्दा जीवनको स्वरूप खिच्न असफल छ । हाड–छालाभित्र, गुण–दोषसहित बाँचिरहेको मान्छेको मूल्य हामीलाई थाहा छैन । हाम्रा कल्पनामा केही थान एलियनहरू डेरा गरी बसेका छन् । ती एलियनका घिसीपिटी आरोह बारम्बार दोहोर्‍याउँदै हाम्रो कथ्यको महान् यात्रा निरन्तर छ ।
विश्वयुद्धको मार खाएर थलिएको जगतले पहिलोपटक जीवन–अस्तित्वको मूल्यलाई नजिकबाट छाम्न खोजेको थियो । युद्धले मारेका नौजवानहरूको सिनोको गन्ध अनि दुखेर छटपटाएका सुकुमारहरूको आर्तानादमा निसास्सिएको सभ्यताले जीवन कथाको मूल्य नजिकबाट बोध गरेको थियो । जीवनको सबैभन्दा भरपर्दो र सपाट प्रतिनिधि सिनेमा भइदियो । त्यसपछिको सिनेमाले उडन्ते देउता र परीहरूका कथाहरू कम भन्न थालेर मान्छेका भोगाइका इमानदार र अनन्त उडान भर्न थालेका थिए । जीवनलाई यति नजिकबाट छाम्न सक्ने सिनेमाको सम्भावनालाई हाम्रो सिने संस्कारले कहिल्यै बुझ्न खोजेन । केही सडेगलेका मसलाले लठ्ठिएर मन्दबुद्धिले खिपिएका हाम्रा कथ्यहरू मन्द–मन्द गतिमा वर्षौं यात्रा गर्दै यहाँसम्म आइपुगे ।
लगभग तीन दशकअघि प्रदर्शनीमा आएको ‘उजेली’ हाम्रो सिने संस्कारको संरचनाभन्दा फरक, नवीन आयाम बोकिआएको थियो । भलै यो स्वतन्त्र सिनेमा नभएर राष्ट्रसंघीय कार्यक्रमअन्तर्गत थियो र यसको माध्यम सिनेमाको पर्दा नभएर टीभीको सिसा थियो । किन्तु वर्षौ लामो संस्कारले कोर्न नसकेको मानवीय अवस्थाको प्रतिच्छाया टीभीको सानो स्क्रिनमा देखिएको थियो । अतिनाटकीयताको रोगले ग्रसित नेपाली सिनेमाका लागि ‘उजेली’ ले पाठ सिकाएको थियो । तर, यो पाठ नेपाली सिनेमाले कहिल्यै सिकेन, सिक्नै चाहेन ।
५० को दशकमा केही बन्ने लहरहरू बौरिरहेका हुन्, यदाकदा ‘मुकुन्डो’ र ‘नुमाफुङ’ जस्ता सिनेमाहरू, मूलधारे संक्रमणबाट अछुतो रहेर प्रकट भएथे । केही प्रयासहरू निरन्तर भई नै रहेका छन् । ‘कालोपोथी’ र ‘सेतो सूर्य’ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरू घुमी हिँडेका सिनेमा पनि यी अतिनाटकीयताको रोगबाट मुक्त थिए । किन्तु मूलधारको महामारीले ग्रस्त बनाएको जगत्मा यदाकदा झुल्किने यी झिल्काहरू शून्यमा शून्य सरि बिलाउँदै छन् ।
पछिल्लो समय बनेका केही स्वाधीन सिनेमाले भोगाइका गहिराइमा डुब्ने कसरत गरिरहेका छन् । पछिल्लो दशकमा केही सुन्दर संकेत देखिँदै छन् । ‘लुट’ भन्ने सिनेमाले बजारबाट अत्यधिक सफलता लुटेपछि हाम्रा मूलधारका आधार स्तम्भहरू डगमगाएका थिए । त्यसपछि मूलधारको एउटा पाटो साँच्चै मान्छेजस्तो देखिने झर्रा चरित्र, खरो जीवनशैली र विश्वसनीय संवेदनाहरू खिप्न खोजी हिँडे । तर, कथामा भने सूत्रीय परम्पराको मायाजालमा फसेर ती चरित्रका अस्तित्वहरू प्रदूषित भए, संक्रमित भए । अनि अर्काथरी मूलधारे सूत्रजीवीहरू, जसले आफ्नो गोदामभरि सडेगलेका मसलाहरू थुपारेका छन्, उनीहरूलाई जीवनलाई गहिराइमा पुगेर छाम्न खोजेका सिनेमा, सिनेमा नै लाग्दैनन् । मिति नाघेका सूत्रहरू र अतिरञ्जित आर्किटाइप्सको मायाजालमा उनीहरू यतिबिघ्न फसेका छन् । उनीहरू साउनमा आँखा फुटेको गोरुझैँ छन् । अनि यिनै सूत्रजीवीहरूको कोपभाजनको भुमरीमा हाम्रो सिनेमाको भाषा भ्रमित छ ।
आफ्नै सतही जीवनको प्रस्तुतिमा मनमगन भइरहेको मूलधारले जबसम्म हाम्रा मानवीय अवस्थाको स्वरूप सिर्जना गर्न सक्दैनन्, हाम्रा सिनेमाहरू सधैंभरि नेपाली पोसाक लगाएर धर्तीमा प्रकट भएका एलियनहरू उमारिरहन्छन् । जब हाम्रो सिनेमामा हाम्रो परिवेशका मान्छे देखिदैनन् भने हाम्रो जिबन–भोगाइका साक्षी ती सिनेमा कसरी बन्लान् ? हाम्रो मौलिक दस्ताबेज भनेर गर्व गर्ने स्वरूपमा ती कसरी ढल्लान् ?

३. शिल्पकारिता
विषयमा कनीकुथी बल गर्न खोजिरहेको नेपाली सिनेमा, शैली निर्माणमा भने गोल्खाडी खाएको छ । क्यामराले खिच्दैमा, दृश्यमाथि भद्दा आवाज थुपार्दैमा सिनेमाको अभिप्राय पूरा हुँदैन । सिनेमाका आधारभूत मानकबाट बेखबर हाम्रा अधिकांश सिनेमाहरू, देखिने रेडियो नाटकजस्ता छन् कि खिचिएको गाईजात्रे प्रहसनजस्ता छन् । सिनेमा सिर्जनाका केही आधारभूत मानकहरूमा आफ्नो निजी शैलीहरू नखोज्दासम्म हाम्रा सिनेमाले मौलिक पहिचान बनाउन नसक्ला ।

क. वाचनशैली
संसारभरि भनिने कथाका स्वरूप उस्तै रहेछ । शान्त चलिरहेको जीवनमा कम्प घटित गरिदिनु र त्येसको समाधान नभेटुन्जेल घम्साघम्सीको यात्रामा लागिरहनु कथाको धर्म रहेछ । हामीले सुनिआएका दन्त्यकथादेखि सुदूरबाट यता आइपुगेका साई–फाई कथासम्मका मेरुदण्ड येही धर्ममा अडिएको रहेछ । श्रुति परम्पराबाट लेखनीमा झरेको यो कथाको परम्परा दृश्यभाषामा आइपुग्दा पनि निरन्तर रह्यो । सिनेमाले यी सीमित सूत्रमा वाक्कदिक्क हुनेगरी नै कथा भन्यो । अनि लामो समयपछि यो अत्यासबाट सिनेमाले मुक्ति खोज्यो र वाचनशैलीका नयाँ प्रयोग थपिँदै गए । यसै पनि शाब्दिक भाषाबाट दृश्यभाषामा रूपान्तरण भएको कथाका आधारभूत संकेतका तालमेल नै फरक थिए । त्यसैले कथाका उल्झनहरू मात्रै घिच्याइरहँदा सिनेमा सधैँ अधुरो–अपूरो थियो । सिनेमाको भाषाले शैलीगत छलाङ खोज्यो, कथावाचनको परम्परागत सूत्रलाई छोडेर काव्यिक सौन्दर्य खोज्यो । यो काव्यिक छनोट, सर्जकको निजी चेतनासँग बढी गाँसिएको थियो । फलस्वरूपः वाचनशैलीमा राष्ट्र, परिवेश र व्यक्तिको निजी छनोटका लेपनहरू भेटिन थाले । सिनेमाको कथ्यमा सधैँ चरित्रका घम्साघम्सीका आरोह–अवरोह मात्रै छैनन्, बरु अनन्त जीवनका मीठास पनि छन्, जसलाई जिन्दगी अनुभूत गरेझैँ गर्न सकिन्छ । शैलीको यात्रा नै गर्न नसकेको हाम्रो सिनेमाभित्र वाचाकीको काव्यिक चेतना आउन लामो समय कुर्नुपर्ला ।

ख. दृश्य रचना
क्यामराअगाडि देखिने प्रत्येक अवयव र त्यसलाई कसरी देखाउने भन्ने विविध सम्भावनाको बीचबाट एउटा सर्जकले गर्ने स्पष्ट नियन्त्रणमा सिनेमाको शैली निर्माण भएको हुन्छ । हामी भने कथालाई छाप्न प्रयोग गरिने पुरातन सूत्रमै अघाएर बसेका छौं । सिनेमाका आधारभूत संकेतको चेतनाको अभावले हाम्रो शैली निर्माणको बाटो छेकेको छ । दृश्यमा अन्तर्निहित समयको वैयक्तिक नियन्त्रणको सम्भावना, हाम्रो चेतनामा अझै छिरिसकेको छैन । त्यसैले हाम्रो सिनेमाको स्वरूप थुप्रै क्लिशेका भण्डार थुपारेर कथा छाप्ने मेसिनभन्दा माथि उठ्न सकेको छैन ।

ग. निरन्तरता
दृश्यको निरन्तरताको अनुभूति गराउन हलिउडले एउटा पाठ बनाएको छ । संसारभरिका धेरै मूलधारे सिनेमाहरू त्यही पाठ कण्ठाग्र गरेर कथावाचनको यात्रामा निक्लिएका छन् । हाम्रो सिनेमाले भारतीय परम्परालाई सर्लक्कै स्वीकार गर्दा, निरन्तरताको भाषा पनि सँगै गाँसिएर आयो । यतिबेला खण्डित दृश्यहरूलाई गाँस्ने शैलीहरू नयाँ–नयाँ उत्खनन हुँदै छन् । तर, शैलीको यात्रामा लाग्दै नलागेको हाम्रो सिने परम्पराले कालग्रस्त भैसकेको तिनै पुरातन सूत्रकै जालोमा आफ्नो सबै कथ्यलाई बिसाएको छ ।

४. सर्जक सिनेमाको खोजी
केही अपवाद छोडेर भन्ने हो भने नेपाली सिनेमाबाट सर्जक हराएको छ । कथालाई छाप्ने व्यवस्थापकीय जिम्मेवारीमा मात्रै सीमित छन् हाम्रा निर्देशकहरू । त्यसैले हाम्रा सिनेमाका यात्राहरूमा नवीन आयामहरूको गुन्जायस रहँदैनन् । कविता लेख्ने कविझैँ, चित्र कोर्ने चित्रकारझैँ वा उपन्यास लेख्ने लेखकझैँ यदि सिनेमालाई स्पष्ट सिर्जना मान्ने हो भने एउटा स्पस्ट सर्जकको खाँचो रहन्छ । विषयको उठानदेखि शैलीगत आयाम खिप्न स्पष्ट सर्जकको आवष्यकता पर्छ । सर्जक सिनेमाको अवधारणा स्वीकार गर्न नसकुन्जेल सिनेमालाई शाश्वत सिर्जनाको रूपमा पनि स्वीकार गर्न गाह्रो पर्छ ।

५. समग्र दृष्टिकोण
विकृत सिनेमाहरूको विशाल कन्टेनरमा प्राणहीन मुर्दा सिनेमाहरू असरल्ल लडी मात्रै रहेका छन् । यो विशाल खातका पत्रहरू केलाउँदा, सदावहार सिनेमाहरूको संख्या असाध्यै थोरै छ । सीमित आयु बोकेर आउने, केही दिन बजारमा तमासा देखाएर, सदाका लागि चिसो कन्टेनरमा अस्ताउने यी दुःखी सिनेमाहरूको नियति साह्रै टीठलाग्दो छ । जुन बेलासम्म मनोरञ्जनको व्यापार गर्ने बजारिया मालसामानभन्दा गम्भीर र पृथक् परिचय सिनेमाले पाउँदैन, सिनेमाका लागि गरिने सबै गम्भीर बहस व्यर्थ हुनेछन् । हाम्रा सिनेमा सधैँ सतहमै तैरिरहनेछन् । मनोरञ्जनको व्यापार मात्रै गर्ने जिनिसको परिचयबाट उठेर जुन बेला सिनेमाले एउटा गम्भीर कलासाधनाको स्वरूप भेट्ला, जीवन–जगत्को असली दस्ताबेज बन्ला, हाम्रो सांस्कृतिक मूल्यको समयचित्र बोकेर जब हाम्रा सिनेमाहरू अन्तर्राष्ट्रिय मञ्चहरू चियाउन खोज्लान्, सिनेमाप्रतिको दृष्टिकोण अलि फराकिलो, अलिकति गहिरो बन्ला ।

६. बजार
सिनेमा सिर्जनाको सबैभन्दा ठूलो दुःख, थुप्रो पैसा नखन्याईकन, सिर्जनाले मूर्तरूप लिन सक्दैन । जब लगानीले किलो गाड्छ, बजारले भूमिका खेल्छ । जातोका खपेटाझैँ, बजारका यी दुई खपेटाका पिसाइमा धेरै सम्भावना पिठो भइदिन्छन् ।
नेपालमा सिनेमा बन्न सुरु हुनुभन्दा धेरै पहिले, भारतीय सिनेमाको स्वाद यता छिरिसकेको थियो । वर्षौंपछि आक्कलझुक्कल झुल्किने हाम्रा सिनेमाहरू, आँधी–हुरीझैँ आउने विदेशी सिनेमाले सिर्जना गरेका मसलेदार स्वादको नजिक पुग्नुपर्ने बाध्यता थियो । अलिकति फरक स्वाद बोकेर जाऊँ, विदेशी अतिरञ्जनाको कुलतमा फसेका दर्शकहरू तिल्मिलाउलान् भन्ने पीर, बजारबाट कुलेलाम ठोक्नुपर्ला भन्ने पीर । यिनै पीरैपीरको तीरमै बसेर हाम्रा सिनेमाले लगातार घिसीपिटी सूत्रहरू छापिरहे । गान्धारीले झैँ आँखामा पट्टी बाँधेर, बलिउडले हिँडेको अँध्यारो बाटोमा पछिपछि घिस्रिरहे । फाट्टफुट्ट केही प्रयोग आउन खोजेका हुन् । तर, बजारले त्यसलाई स्याबासी नदिँदा, निरन्तरता गुमाएका ती सिनेमाका साधनाहरू, धोको पूरा गर्ने इलममै सीमित भइदिए । गम्भीर भएर लागेका केही साधक भने अन्ततः बजारको निठुरे जालोमा साधनाको समाधि बिसाएर, बजार फकाउनतिर पो लागे । बजारको खेला यस्तै रहेछ । भद्दा स्वादको कुलतमा फसेका हाम्रो सिनेफिलियाले, गम्भीर सिनेमाको स्वाद चाख्न नजानुन्जेल, अन्तर्राष्ट्रिय बजारहरूको आँखा हाम्रा सिनेमामा नपरुन्जेल, कति साधकहरू यो बजारको अचानोमा चिरिँदै, टुक्रिँदै जानुपर्ने हो, थाहा छैन ।
शाश्वत सिनेमाका साधनालाई मलजल हाल्नुपर्ने राज्यको निकाय कानमा तेल हालेर घाममा सुतेको छ । कला चेतनाको यतिविधि बोधो परिवेशमा गम्भीर भएर लागिरहेका साधकहरू अर्धसिल्लीझैँ छन्, पटमूर्खझैँ छन् । कारण उनीहरूले बजारको भाषा बुझेका छैनन् ।

५० वर्षभन्दा लामो यात्रामा बनेका हजारभन्दा बढी सिनेमा फगत बजारका लागि निक्लिए । सडे–गलेका विदेशी मसला ठोसेर जिन्दगीलाई खिस्याएजस्ता सिनेमाहरूको यस्तै ध्येय थियो— बजारबाट मुनाफा सोहोर्नु । तर, अधिकांश सिनेमालाई निठुरे बजारले टाट पल्टाइदियो । बजारको मोहजालले लठ्ठिएकाहरू, बजारकै इन्द्रजालमा जाकिए । बजारमै हारेका हाम्रा सिनेमाहरूबाट, बजारभन्दा माथि बसेर, सिनेमाका अनन्त सम्भावनालाई उत्खनन गर्ने दिन कहिले आउला ? राज्य, सर्जक, चिन्तक र दर्शकको गोलमेचबाट एउटा साझा चेतनाको किलो नठोकुन्जेल, हाम्रा सिनेमाले गम्भीर स्वरूप नभेटलान् । शैलीको निजी उडान भर्न नसक्लान् । हामीले भन्दै गरेका निजी सिनेमाको स्वरूप कहिलेसम्म बनिसक्लान् ?

कोसेली

शोले : एक ‘क्लासिक’ लोकेसन

- विकास रौनियार

‘शोले’ सम्झँदा म पुराना दिनतिर बरालिन्छु । त्यो फिल्म हेर्न हामीले व्यापक प्रतीक्षा गर्नुपरेको थियो । नेपालमा धर्मेन्द्र अघोषित ब्यान्ड थिए । त्यसैले शोले हेर्न धेरै दर्शक रक्सौल पुग्नुपरेको थियो ।
त्यस समय सबैभन्दा बढी चलेको फिल्म हो यो । यस फिल्मका सानाभन्दा साना घटना–विषय विश्वविख्यात छन् । सन् १९७५ मा रिलिज भएको ‘शोले’ हामीले सन् १९८४–८५ तिर बल्ल काठमाडौंमा हेर्न पायौं— भिडियो सेट आएपछि, मखन टोलको अँध्यारो गल्लीभित्र, थोत्रो सुकुलमा ठेलमठेल गर्दै ।

हालै दक्षिण भारतको बैंगलोर पुगें । तत्क्षण अनुपमा चोपराको किताब ‘शोले द मेकिङ अफ अ क्लासिक’ सम्झिएँ । सँगै सम्झना भयो— शोले छायांकन बैंगलोरनजिकै गाउँमा भएको थियो । त्यस ठाउँबारे जानकार ड्राइभरलाई साथै लिएर करिब ५५ किलोमिटर पर रामनगरम्, कर्णाटक पुगेँ । रामनगरम् फिल्ममा रामगढको रूपमा चित्रित छ ।
प्रख्यात निर्देशक रमेश सिप्पीले निर्देशन गरेको शोलेमा सञ्जीव कुमार, धर्मेन्द्र, हेमा मालिनी, जया भादुरी, अमिताभ बच्चनलगायतले अभिनय गरेका छन् । त्यो ठाउँ पुग्नु मेरो सौभाग्य थियो ।
त्यहाँ घुम्न आएका धेरै मानिस शोलेकै कुनै गीत गाइरहेका थिए । त्यसकै संवाद बोलिरहेका थिए । शोलेकै कुनै दृश्यको पोजमा तस्विर खिचाउँदै थिए । ‘ए दोस्ती हम नही छोडेंगे,’ ‘अरे ओ शाम्भा कितने आदमी थे !’– यस्ता संवाद यो लेकोसनमा व्यापक सुन्न पाइन्थ्यो । शोले फिल्मको हिरो वा हिरोइनको पोज दिएर तस्बिर खिच्नेमा त्यहाँ घुम्न आएका सुल्तान मिर्जा पनि थिए । उनी ठूलो स्वरमा शोले–संवाद बोल्दै थिए । अहिले पनि त्यहाँ स्थानीय गाउँले भेटिन्छन्, जसले शोलेको छायांकन हेरेका थिए । कसरी अमिताभ बच्चनले घोडा दौडाएका थिए, कसरी फाइट–सिन सुटिङ भएको थियो– गाउँलेहरू रुचिसाथ सुनाउँछन् । शोलेका धेरै प्रशंसक यहाँ घुम्न आउँछन् ।

Page 21
कोसेली

यात्रा : ‘अब्जेक्ट’ टु ‘सब्जेक्ट’

- सरिता तिवारी

द सेकेन्ड सेक्स !
‘सेक्स’ शब्दको सार्वजनिक उच्चारणसम्म गर्न पनि डराउँथें । भाषाको शाब्दिक अर्थ मात्रै बुझ्ने हुस्सु तर म मात्रै रहेनछु, पछि थाहा पाएँ । त्यस्तो बेला यस्तो विस्फोटक शब्द भएको किताब लेख्ने लेखकबारे झनै उदेकको धारणा सुनेकी हुँ सुरुमै । लेखक नै थिए ती जो उनलाई— छाडा, अराजक, नारी–मुक्ति आन्दोलनविरोधी, ‘तथाकथित’ नारीवादी... मार्क्सवादविरोधी आदि भन्थे ।
तिनलाई लेखक के भन्नु ! चिन्तनको दारिद्र्य र पूर्वाग्रहको जालोले पुरिएका दुःखी मनुष्य थिए ती । तर, म तिनैको संगतमा थिएँ । धन्न त्यो संगतदेखि समयमै उछिट्टिने संजोगहरू जुरे र म ‘विचरा’ को अलिकति भए पनि उद्धार हुन सम्भव भयो ।
पोखरा बस्थें त्यतिखेर । पहिलोपल्ट यिनको नाम त्यहीँ सुनें । कविता लेख्न खुबै रौसिने ! दिनकै चार पाँचोटा कविता लेख्दिने उद्दामको ऊर्जा थियो । लेखेपछि पायक मिल्दो, आफूले जाने–चिनेको सुनाउने ठाउँ थियो मासिक ‘समता काव्य सन्ध्या’ । महिना दिनसम्ममा कविताहरू उरुङ लागेका हुन्थे । कुन सुनाऊँ ? आफूले लेखेका हरेक कविता ‘खतरा’ लाग्ने कम्ता मीठो हुन्थेन त्यो भ्रम ! बल्लतल्ल छाँटेर कविहरूको अघिल्तिर एउटा मात्रै कविता सुनाउँदा पनि ‘बाफ रे’ लाग्थ्यो । किनभने कार्यक्रमको अन्त्यमा कुनै अग्रज कविले कविताको समीक्षा गर्ने चलन थियो । स्थापित कविहरूका कविताको मोडेल हेर्दै कविता फुराउने ढंग सिकिरहेको फुच्चे मान्छे म । प्रायः प्रशंसा पाउँथें । त्यसले दिने हौसलाले ज्यान प्वाँख हुन्थ्यो ।
त्यस्तै कुनै एक साँझ एक पाका कविले मन्चबाट भने, ‘हामीलाई विश्वास छ, हाम्रै बीचबाट पारिजात जन्मिनेछन् । तसलिमा नसरिन जन्मिनेछन् । सिमोन द बुभा जन्मिने छन्... !’ मुटु ढक्क फुल्यो । कत्रा कत्रा मान्छेका नाम ! सुन्दै जीउमा काँडा उम्रिने !
डर लाग्ने !
अघिल्ला दुई मैले पहिल्यै सुनेका र अलि–अलि पढिसकेका लेखकका नाम थिए । तेस्रो नामबारे मलाई केही थाहापत्तो थिएन । थाहा पाउन अहिलेजस्तो इन्टरनेट र गुगल सर्चको सुविधा पनि थिएन । न त ठ्याक्कै त्यही सामग्री भेटिने किताब पाइन्थे कतै । वा पाइने नै भए पनि त्यस्ता ठाउँसम्म मेरो पहुँच थिएन । त्यतिबेला मैले अधिकांशतः पढ्ने ठाउँ पीएन क्याम्पस परिसरभित्रको क्षेत्रीय पुस्तकालय थियो । अब्बल र पठनीय किताबहरू वर्षौंसम्म गायब हुने नियतिले ग्रस्त अरू धेरै पुस्तकालयजस्तै थियो यो पनि । त्यसैले जब खास कुरा जान्नु र बुझ्नु छ, आफ्नै प्रयासले जुगाड गर्नुपर्ने हुन्थ्यो ।
कार्यक्रम सकिएर निस्कने बेला कुनै ‘स्वयम्घोषित’ प्रगतिशील लेखक महोदयलाई सोध्दी भएँ, सिमोन द बुभा चिन्नुहुन्छ ?
– अँ !
ओहो ! लौ गज्जब । यी सज्जनबाट ज्ञानदानको कृपा बर्सिने निश्चित थियो । किनभने अरू केही विषयमा पनि यिनी मेरो ज्ञानका ‘अजस्र स्रोत’ रहिसकेका थिए ।
त्यसपछि महोदय भट्याउन थाले र म पूरै आज्ञाकारी मुद्रामा सुन्न । सिमोनबारे माथि पेस गरिएका विशेषण दिने व्यक्ति उनै थिए । तिनले अर्तीको लयमा के–के कारणले अराजकता बेठीक कुरा हो र नारीवाद एनजीओको मात्रै मुद्दा हो भनेर पनि अर्थ्याए । सिमोन कम्युनिस्टविरोधी हुन् पनि भने । यी तिनै व्यक्ति थिए, जसले पछि कुनै एक प्रसंगमा भने, ‘...हेर्नुस् बैनी जत्ति जे भने पनि विद्या भण्डारीलाई आफ्ना पतिको पाइन्ट धुँदा जुन आत्मीयता र आनन्द ‘फिल’ हुन्थ्यो त्यस्तो अनुभूति चुनाव जितेर सांसद, मन्त्री जेसुकै भए पनि हुन सक्दैन !’ फरक–फरक समयमा तिनले भनेका यी दुइटा कुराले मलाई तिरिमिरी झ्याईं बनायो ।
तैट, सोच !
त्यसपछि न यिनी मेरा ज्ञानका स्रोत रहे न मैले आफूलाई यिनको आसपास नै पुग्न दिएँ ।
प्रसंगवश, कुनै दिन एक युवा लेखकसँग सोधें, ‘दाइ सिमोन द बुभाको किताब छ तपाईंसँग ?’ तिनले छ भनेनन् । नभएरै होला । तर, ‘भव्य’ जानकारी भने दिए— फ्रान्सकी अस्तित्ववादी, नारीवादी विचारक । नारीवादको बाइबल भनिने प्रख्यात किताब ‘द सेकेन्ड सेक्स’ की आँटिली लेखक । विवाह, सन्तान, वैध सम्बन्ध सबै कुरालाई चुनौती दिने अद्भुत महिला । बिहे गरिनन् तर कुनै लेखकसँग आजीवन सम्बन्धमा बसिन् । आदि ।
यिनको व्यक्तित्वका तिलस्मी आख्यान सुन्दा औडाहा छुट्थ्यो तर कतैबाट किताबको जुगाड भएन । यस्तो लेखकको किताब पढ्ने म कहिले हुँला भन्दाभन्दै जिन्दगीको अन्ध–कालीन एक दशक बित्यो ।

भनेको रहेछ, ‘सेकेन्ड सेक्स’ अर्थात् दोस्रो लिंग !
प्राथमिक होइन त्यसको परिपूरक । कर्ता (सब्जेक्ट) होइन कर्ताद्वारा चलायमान वस्तु (अब्जेक्ट) । बुभा भन्छिन्, ‘अब्जेक्ट’ ले जबजब ‘सब्जेक्ट’ बन्ने कोसिस गर्छे, उसले हिंसा र दमनको सिकार हुनुपर्छ । शारीरिक, मानसिक, बौद्धिक सबै स्तरको हिंसा ! सबै स्तरको दमन ! संघर्ष र कोलाहलको बीचबाट पनि जब नारीहरू परम्परालाई पछाडि छोड्दै, आफू जकडिएका सीमा तोड्दै निस्कन्छन्, कर्ता या सब्जेक्ट बन्ने बाटो खुल्दै जान्छ । यसरी पुरुषलाई मूल र महिलालाई अर्को (अन्य) मान्ने भाष्यमाथि प्रश्न गर्ने सिलसिलामा महिनौंका अनुसन्धान, अध्ययन र निष्कर्षको एकमुष्ठ उत्पादन थियो, ‘द सेकेन्ड सेक्स’ । संसारमै पहिलोपल्ट कुनै (महिला) लेखकले विलक्षण आँट र जोखिम उठाएर गरेको युगान्तकारी कार्य । ऐतिहासिक, भौतिक, दार्शनिक, जैविक दृष्टिले सर्वाधिक वैज्ञानिकता र विश्वसनीयताका साथ
गरेको उद्घोष !
किताबमा भनिएको छ, ‘स्त्री जन्मिन्न, बनाइन्छे । इतिहासले, साहित्य–जीवविज्ञान–मनोविश्लेषण आदि जम्मैका परम्पराले स्त्रीत्वका असंगत मिथकहरू बुन्दै–बुन्दै आएका छन् । त्यसको चाबीले नै स्त्रीत्वको मापदण्ड निर्माण गर्छ ।’
स्त्रीत्वका निर्धारित सर्तअनुकूल हुनु नै स्त्री हुनु हो भन्ने निर्मित सत्यलाई फड्किएर स्त्रीको विपुल र स्वतन्त्र मानवीय अस्तित्वको खोजी बुभाको निजी र लेखकीय दुवै व्यक्तित्वको साझा गुण हो । छिरोलिएको टुक्राटुक्रा र अपरिचयको, अनस्तित्वको बिरानो वस्तुसदृश अधीनस्थ (अन्य) स्थितिबाट–एउटा पूर्ण मानवको । एकतित्र र सग्लो परिचयको । (महिला) व्यक्ति स्वयम्ले छनोट गरेको नैसर्गिक
(मूल) जिन्दगीतर्फको यात्रा बुभाले तय गरेको विचारको यात्रा थियो । वरणको यात्रा पनि यही थियो ।
उनले भनिन्, शरीर वस्तु होइन स्थिति हो । उनले स्त्रीको शान्तिप्रिय, सहनशील, पराधीन र तल्लो दर्जाको परम्परित स्थितिको खण्डनमा तमाम मिथकीय र जीवशास्त्रीय झूटहरूका विरुद्ध प्रामाणिक भाषामा बोलिन् । त्यति मात्रै होइन, नारी मुक्तिको प्रश्नमा कम्युनिस्ट शासनपद्धतिका कपटविरुद्ध हाकाहाकी चुनौती दिएर भनिन्, तिमीहरू पनि झूटा हौ !
बीसौं शताब्दीको मध्यान्तरपछि संसारले धमाका सुन्ने गरी प्रकट भएकी यी दबङ् लेखकलाई कम्युनिस्ट साहित्य र समीक्षाले किन दुत्कार्थ्यो भन्ने कुराको चुरो यहीं छ । मेरा ती सज्जनले कुनै बेला मलाई सिमोन किन कम्युनिस्टविरोधी हुन् भनेर सिकाए भन्ने कुराको पोयो पनि यहीँनेर खुल्छ । उनले तत्कालीन सोभियत रुसको उदाहरण दिएर किटेरै भनेकी छन्— महिलाको मुक्ति समाजवादमा पनि सम्भव रहेनछ । लेनिनकालमा बनेका महिलामैत्री कानुन उल्ट्याएर मातृत्व र परिवार रक्षाका नाममा जसरी निषेधका कानुन ल्याइए, त्यसले महिलालाई पुरुष कमरेडका कफी–सर्भरभन्दा बढी नबनाएको उनको भनाइ अहिले नेपाली कम्युनिस्ट आन्दोलनमै पनि चरितार्थ भइरहेको छ । धेरैजसो ‘कम्युनिस्ट’ लेखकहरूलाई सिमोन किन बिझाउँछिन् भन्ने कुरा हिजो–आज आएर म थाहा पाउँदै छु । दुराग्रहको वमन गर्न कोष्ठकभित्र जे–जे शब्द राखेर चिनाइए पनि सिमोन नारी–मुक्ति आन्दोलनकी सानदार नाम हुन्, जो जीवनका पछिल्ला दशकमा फ्रान्सेली महिला मुक्ति संगठनकी अध्यक्षसमेत थिइन् । आजीवन ‘लेफ्ट’ धारामा प्रवाहित यिनी संसारभरका ‘लेफ्ट–विङ्’ बाटै लखेटिइन् । उनको जन्मथलो फ्रान्स र उनका वैचारिक मित्रगण समाजवादी देशमा भन्दा पुँजीवादी अमेरिकामा उनी ज्यादा पढिइन् । यसलाई विडम्बना भन्ने कि संयोग ?

संसारका एक से एक दार्शनिकहरू जन्मेको देशमा जन्मिइन् सिमोन द बुभा । प्रबोधन र प्रयोगको उद्गमभूमिमा जन्मिइन् । फ्रान्सेली क्रान्ति, पेरिस कम्युनदेखि अनेक वाद र संवादले विश्वलाई वैचारिक नेतृत्व गरिरहेको देशमा जन्मिइन् । स्वतन्त्रता र समानताको जाग्रत सपना वायुझैं स्वस्फूर्त उनीभित्र सास भएर पस्यो । विचार र धारणाहरूको निर्बन्ध ‘डाइलेक्टिक्स’ उनी उभिएको माटोमै उपलब्ध थियो । त्यसैको सुगन्धमा मुक्त पन्छीझैं विभोर भएर बाँचिन् उनी सम्झौताहीन आफ्नै सर्तको जिन्दगी ।
सन् १९०८ जनवरी ९ को जन्म । धनाढ्य परिवारमा जन्मिए पनि दिनानुदिन खस्कँदो आर्थिक अवस्थाले पुर्ख्यौली ध्वाँस व्यवस्थापन गरिरहनुपर्ने उनको परिवार विस्तारै टाट हुँदै थियो । बा र आमा पटक्कै नमिल्ने । बाआमाबीचको अन्तहीन घर्षणमय सम्बन्धले दिएको एक्लोपन र कल्पनाशीलताले आफूलाई ‘बौद्धिक’ बन्ने मार्गतिर सोझ्याएको बयान उनले ‘मेमायर्स अफ ड्युटिफुल डटर’ मा गरेकी छन् ।
व्यक्ति आफू आफैं बन्दैन । व्यक्ति स्वयम्भू होइन । उसका विचार र बाटो भौतिक परिस्थितिले निर्माण गर्छन् । तर, त्यसको गतिशीलता र रूपान्तरणको सर्त भने ब्यक्तिको हातमा हुन्छ । उनको किशोरकालको भयावह एकान्त र विचलनका साथी किताब मात्रै थिए । उनले यति पढिन्, यति पढिन् कि त्यो देखेर परिवारका मान्छेहरू आत्तिन्थे । उनको निरन्तर मुखर गतिशीलताका सारथि तिनै किताबहरूले निर्माण गरेका विचार थिए । किताबमाथिको उनको लगनले हेगेल, लाइबनित्जजस्ता दार्शनिकको गहिरो प्रभाव मात्रै दिएन, जिन ज्याक मर्ली, सार्त्र, क्लाउड लेवी स्ट्रसजस्ता उम्दा विचारकको मित्र पनि बनायो ।
सिमोन पितृसत्ताका तमाम यान्त्रिकीलाई हाकाहाकी चुनौती दिएर उन्मुक्त बाँचेकी साहसी व्यक्ति हुन् विवाह, प्रेम, यौनसम्बन्ध, गर्भपतनजस्ता मान्यतामाथि प्रहार गरेर उनले अन्य वा अब्जेक्ट हुनुको नियतिबाट आफूलाई अलग्गै राखिन् । आफ्नै मर्जीले प्रेम गरिन् र छुट्टिइन् तर हरेक प्रेम र शारीरिक सम्बन्धमाथि बकाइदा गौरव मात्रै गरिनन् आफ्ना उपन्यास र संस्मरणमा पनि तिनको जीवन्त अभिलेख पनि राखिदिइन् ।
प्रख्यात अस्तित्ववादी लेखक जाँ पल सार्त्र १९२९ देखि मृत्युपर्यन्त (१९८१ सम्म) उनका अनन्य ‘पार्टनर’ रहे । उनीहरू एकअर्काका मेन्टर, एकअर्काका पूरक रहे तर दुवैले निजी छनोटको स्वतन्त्रतालाई सम्मान पनि गरिरहे । यसबीचमा सार्त्र र सिमोन दुवै आआफ्ना प्रेमीसँग ‘लिभ इन रिलेसन’ मा पनि बसे । सार्त्रबाहेक सिमोनका दुई प्रेमी थिए— अमेरिकी लेखक नेल्सन एल्ग्रिन र फ्रान्सेली फिल्ममेकर क्लाउज लन्जम्यान । कतिपय आलोचक अहिले पनि एल्ग्रिनसँगको सम्बन्धको खुला बयान र उनलाई सिमोनले लेखेको विवादास्पद चिठीका आधारमा उनको नारीवादी अडानको धज्जी उडाउँछन् । तर, मूल कुरा कुन क्षणमा उनीभित्र परम्परित स्त्रीत्व सग्बगाएर उनलाई सम्हालिन हम्मे पर्‍यो भन्ने होइन, उनको अथक साधनाका कारण संसारले के पायो भन्ने हो ।

‘द सेकेन्ड सेक्स’ उनको खास परिचायक हो । तर, उनलाई प्रसिद्धि दिलाउने अन्य किताब र कामहरू पनि छन् । उनले अढाई दर्जन जति किताब लेखिन्, प्रायः उपन्यास र निबन्ध । तीमध्ये ‘द ब्लड अफ अदर्स’, ‘द मेन्डरिज’, ‘एथिक्स अफ एम्बिग्युटी’ लगायतको चर्चा बढी सुनिन्छ । उनका संस्मरणात्मक कृतिहरू धेरै नै विवादग्रस्त हुन पुगे । चारवटा संस्मरण कृतिमध्ये ‘द प्राइम अफ लाइफ’ सर्वाधिक आलोचित र विवादग्रस्त किताब हो । आफ्ना निजी र यौन जीवनबारे निर्धक्कसँग खुलेर बयान गर्ने उनको हक्की शैली जीवनकालका पछिल्ला किताबमा पनि कायम देखिन्छ । त्यसको उदाहरण १९७० मा लिखित वृद्धावस्थामाथिको गहिरो विश्लेषण ‘ओल्ड एज’ र फ्रान्समा गर्भपतन कानुन ल्याउन दबाबस्वरूप १९७१ मा लेखिएको ‘मेनिफेस्टो अफ थ्री फोर थ्री’ मा भेटिन्छ । सार्त्रलगायत उनका प्रियजनहरू एक–एक गर्दै उनलाई छोडेर गए । जीवनका अन्तिम वर्षहरूमा पनि लेखन पठनमा निमग्न सिमोन संसारभरका स्त्री बौद्धिकहरूका लागि गतिशील चेतना, निडर लेखन र घर्षणमय ‘बोल्ड’ जिन्दगीकी साझा गुरु हुन् । अँध्यारो समयमा, स्त्री लेखक हुनुका समस्त असुविधा र दुःखमा, स्त्री भएकैले खप्नुपर्ने छुद्र आलोचना, प्रहार र ‘बुलिइङ’ का क्षणमा सिमोन निरन्तर उज्यालो फ्याँकिरहने लाइट हाउस हुन् ।
जनवरी सिमोनको जन्ममास हो । अठहत्तर वर्षको आयु बाँचेर १९८६ अप्रिल १४ का दिन बितेकी उनी सच्चा क्रान्तिकारी, सच्चा साम्यवादी हुन् । उनले हिँडेको बाटो सजिलो त छैन तर अस्तित्वको चोटले, नाम अनाम हिंसाको डहनले, परिचयको कठोर प्रश्नले लखेटिएका संसारभरिका स्त्रीहरूले हिँड्नुपर्नेछ—वस्तु (अब्जेक्ट) देखि कर्ता (सब्जेक्ट) सम्मको त्यस्तै
कठोर बाटो ।
सिमोन द बुभालाई विनम्र नमन !

Page 22
कोसेली

रण–हारको प्रत्यक्ष बयान

- डा. महेशराज पन्त

पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)ले भक्तपुर जितेको ३ महीना पनि नपुग्दै त्यही साल फाल्गुनकृष्ण एकादशीको दिन उनका दरबारिया कवि ललितावल्लभले त्यस विजयलाई मूल विषयवस्तु बनाई ‘भक्तविजयकाव्य’ लेखेकाले गोरखालीले भक्तपुरविजयलाई ठूलो ठानेको देखिन्छ । हुन पनि हो, भक्तपुरविजय भएपछि पृथ्वीनारायण शाहको राज्यविस्तारको तेस्रो लक्ष्य पूरा भएको थियो । त्यो युद्ध प्रत्यक्ष देखेका, भक्तपुरका अन्तिम राजा रणजित् मल्ल (वि.सं. १७५९–१८२८, राज्यकाल वि.सं. १७७९–१८२६) का आप्त सेवक गरुडनारायण गोंगलले ‘भक्तविजयकाव्य’ रचिएको २० वर्षपछि भक्तपुरविजयको विवरण लेख्नु संयोग मात्र होइन जस्तो मलाई लाग्छ ।
गरुडनारायणले लेखेको यो विवरण सबभन्दा पहिले छत्रबहादुर कायस्थ (वि.सं. १९९९ मा जन्म) बाट वि.सं. २०५५ मा प्रकाशमा आयो (‘स्व. गरुडनारायण ग्वंगल, जुजु रणजीत मल्लया काशीवास’, ‘ज्वलान्हायकं’, ७ अङ्क, ने.सं. १०९८, ३७–४६ पृ.) । त्यहाँ ‘अनुवादक’ भनी छत्रबहादुरको नाउँ दिइएकोले उनले भाषान्तरबाट नेवारीमा उल्था गरेको देखिन्छ । यसको ५ वर्षपछि देविचन्द्र श्रेष्ठ (वि.सं. १९९५ मा जन्म) बाट गरुडनारायणको त्यही विवरणको विषयमा एउटा लेख प्रकाशमा आयो (‘पृथ्वीनारायण शाहको भक्तपुरमाथि हमला ः आँखाले देखेको बयान’, ‘पृथ्वीजयन्ती–२०६० स्मारिका’, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ, १६–२२ पृ.) । त्यस लेखबाट यो विवरण नेपालीमा लेखिएको रहेछ भन्ने स्पष्ट भयो र छत्रबहादुरले नेपालीबाट नेवारीमा उल्था गरेको ठहरियो ।
नेपाली मसीजीवीहरूमा आफ्नो विशिष्ट पहिचान बनाएका देविचन्द्रको नवीनतम कृति ‘भक्तपुरमा गोर्खाली हमला— गरुडनारायण गोंगलको सम्झना’ (जगदम्बा प्रकाशन, ललितपुर, २०७६) १० सेन्टिमीटर चौडा र २५३ सेन्टिमीटर लम्बा नेपाली कागजमा लेखी बेरेर राखिएको, गरुडनारायण गोंगलको यही विवरणको सम्पादन हो । वि.सं. १८२६ मा भक्तपुरमा हमला भएदेखि वि.सं. १८२८ मा रणजित् मल्ल परलोक भएसम्मको कुरा परेको, गरुडनारायणको यस कृतिमा प्रसंगवश ने.सं. ९०९ तदनुसार वि.सं. १८४६ को पनि चर्चा आएकोले यो पुस्तक पछि लेखिएको हो भन्ने देखियो । नेवार राजाका सेवक, नेवार गरुडनारायणले यो विवरण नेवारीमा नलेखी किन नेपालीमा लेखे भन्ने प्रश्न यहाँनिर उठ्छ । पछि गरुडनारायणको प्रवेश गोरखाली राजाको दरबारमा भएको त मलाई थाहा छैन, उनका छोरा हृदयरत्न भने जङ्गबहादुर (वि.सं. १८७४–१९३३, शासनकाल वि.सं. १९०३–१९३३) को पालामा सुब्बा पदमा विराजमान देखिएकाले गरुडनारायण नै गोरखाली दरबारमा भित्रिइसकेका थिए कि भनी अनुमान गर्न मन लाग्छ ।
भक्तपुरमा युद्ध हुँदा पृथ्वीनारायणसँगै भाइसमेतका प्रतापसिंह पनि थिए भनी ‘भक्तविजयकाव्य’ मा लेखिएकोले (५४–५५ श्लोक) बहादुर शाह पनि त्यहाँ पुगेको देखिन्छ । त्यस बेला प्रतापसिंह (वि.सं. १८०६–१८३४) को उमेर २० वर्ष र बहादुर शाह (वि.सं. १८१४–१८५४) को भने १२ वर्ष मात्र थियो । गरुडनारायणले यो विवरण तयार पार्दा गद्दीमा रणबहादुर शाह (वि.सं. १८३२–१८६३, राज्यकाल वि.सं. १८३४–१८५५) भए पनि हालीमुहाली भने उनका काका बहादुर शाहको भएकोले बालककालमा त्यो युद्ध देखेका बहादुर शाहको लागि त्यस युद्धको विवरण नेवारीभाषी गरुडनारायणले नेपालीमा तयार गरेको हुनुपर्छ जस्तो मलाई लाग्छ ।
यस पुस्तिकाका मुखपृष्ठमा देविचन्द्र श्रेष्ठको नाउँअगाडि ‘सम्पादक’ नभनी ‘ग्रन्थ’ लेखिएकोले ‘सम्पादक’लाई ‘ग्रन्थकार’ भनिने इच्छा भएको, भनिहाल्न भने अप्ठ्यारो परेको जस्तो लाग्छ । ‘प्रकाशकीय’मा भने देविचन्द्रलाई स्पष्टै ‘ग्रन्थकार’ लेखिएको कुरा यहाँनिर भन्नुपर्छ । हाम्रो यतातिर स्वतन्त्र ग्रन्थलाई माथिल्लो ठानी त्यस्तो ग्रन्थलाई ‘मौलिक’ भनेर त्यस्तो पुस्तकको बढी मानमनितो गर्ने र प्राचीन ग्रन्थको विवेचना गरी त्यो प्रस्तुत गर्ने सम्पादकलाई भने त्यति सम्मान नदिने परिपाटी बसेको देखिएकोले तथा सम्पादित ग्रन्थलाई पारितोषिकले अलंकृत गर्न पनि संकोच मानिने हुनाले ‘ग्रन्थ’ शब्दले काम चलाइएको हुनुपर्छ ।
क्राउन अक्टाभो साइजमा ८९ पृष्ठ भएको यस पुस्तिकामा ४ पृष्ठ सम्पादकको ‘प्राक्कथन’ ले (५–८ पृ.) र यसपछिको १ पृष्ठ ‘प्रकाशकीय’ ले ओगटेको छ (९ पृ.) । त्यसपछिका ४९ पृष्ठमा ‘ऐतिहासिक छलफल’ (११–५९ पृ.) फैलिएको छ । त्यसपछिका १४ पृष्ठमा मूलपाठ (६१–७४ पृ.) अनि १४ पृष्ठ (७५–८८ पृ.)मा मूल पुस्तकको फ्याक्सिमिलि दिइएको छ । सबभन्दा पछिल्लो पृष्ठमा ‘नेपालभाषा प्रभावित शब्दहरूको सूची’ (८९ पृ.) दिई यो पुस्तिका टुङ्ग्याइएको छ ।
‘राणाकालमा नेपाल एकीकरणको इतिहास अध्ययन समेत अगाडि बढ्नै दिइएन । नेपाल बाहिर भने यस प्रकारको अध्ययन रोक्न सकिने अवस्था थिएन । त्यसैले रामनगर (पटना) तथा वनारसमा केही काम भएका छन्’ (५ पृ.) भनी ‘प्राक्कथन’ मा लेखिएकोले कुन कृतितर्फ यो संकेत गरिएको हो भनी खोतल्नुपरेको छ ।
वि.सं. १९७९ मा प्रकाशित अम्बिकाप्रसाद उपाध्याय (वि.सं. १९५१ तिर–१९८६ पछि) को ‘नेपालको इतिहास’ को पहिलो संस्करण त मैले देखेको छैन, वि.सं. १९८६ मा प्रकाशित दोस्रो संस्करण अर्थात् ‘नेपालको इतिहास र (रामनगरको इतिहास)’ मा प्रकाशकमा ‘पण्डित देवीप्रसाद उपाध्याय, रामापुरा बनारस’ र ग्रन्थकारको ठेगाना दिँदा ‘रामापुरा, काशी ‘बनारस’ तथा ग्रन्थकार बितिसकेपछि वि.सं. २००४ मा प्रकाशित तेस्रो किंवा अन्तिम संस्करणमा प्रकाशकमा ‘राजेश्वरीप्रसाद उपाध्याय, सिंहा लाइब्रेरी रोड, पटना’ लेखिएकोले यो संकेत अम्बिकाप्रसादको इतिहासतर्फ हो जस्तो मलाई लाग्छ । अम्बिकाप्रसादको इतिहासमा पृथ्वीनारायणको विषयमा विशेष कुरा केही छैन, त्यो त्यति लामो पनि छैन । उता, वि.सं. २००४ मा प्रकाशित तोत्रराज पाण्डेय (वि.सं. १९६७–२०१४) र नयराज पन्त (वि.सं. १९७०–२०५९)को ‘नेपालको संक्षिप्त इतिहास’ मा पृथ्वीनारायणको विषयमा कता हो कता बढी लेखिएको छ । अर्को शब्दमा भन्नुपर्दा, अम्बिकाप्रसादको इतिहासमा भन्दा ८ गुना बढी त्यहाँ लेखिएको छ र अन्त अन्त अप्रकाशित नयाँ नयाँ कुरा पनि त्यहाँ निकै छन् । त्यो पुस्तक काशीमा प्रकाशित भए पनि त्यसको रचना राणाशासनमा नेपालमै भएको हो र राणाशासनमै सरकारी विद्यालयमा पाठ्यपुस्तकको रूपमा त्यो पढाइएको पनि हो । यस कारण बाहिर लेखिएको अम्बिकाप्रसादको इतिहास अघि सारी नेपालको एकीकरणको इतिहासको खोजी राणाशासनले गर्दा नै हुन सकेन भनिहाल्नु त्यति उपयुक्त हुँदैन कि !
गोरखाले तनहुँ राज्य जितेपछि तनहुँले राजा आफूले मुगल बादशाहलाई तिरो तिरी हकभोग गर्दै आएको, चम्पारन जिल्लामा पर्ने रामनगरका केही तप्पामा अधिकार कायम राखी त्यहाँका राजा भई बसे । त्यो राज्य पुस्तानपुस्ता कायम रह्यो । तनहुँको भगौडा राजवंशकै पछि लागी रामनगर पुगेका पौडेलवंशका देवीप्रसाद उपाध्याय रामनगर राज्यका भित्रिया हुन पुगेका थिए । यी कुरा राम्ररी नबुझ्दा ती स्थाननामलाई घोलमेल गरी ‘रामनगर (पटना) तथा वनारस’ भनी ‘प्राक्कथन’ मा लेखिएको देखिन्छ ।
गोरखा राज्य चौबीसीमा नगनिने हुनाले त्यसलाई देविचन्द्रको भाषामा ‘नेपाल मण्डल’ को अर्थात् मेरो भाषामा ‘नेवारराज्य’ को ‘चोइटो स्वरूप ‘गोर्खा’ (७–८ पृ.) भनी गरिएको उत्प्रेक्षा पचाउन गाह्रो छ । किनभने, नेवारराज्य परापूर्वकालदेखि पश्चिमतर्फ नुवाकोटमा सीमित थियो र नुवाकोट नेवारराज्यको पश्चिमी द्वारको रूपमा रहेको हुँदा नेवार राजाहरू नुवाकोटसम्म राज्य कायम गर्न सकेकोमा गर्व गर्थे । त्यसमाथि, काठमाडौँखाल्डोमा राजधानी भएका ३ नेवारराज्यभन्दा गोरखा राज्य भाषा र संस्कार इत्यादिले गर्दा भिन्न प्रकृतिको थियो भन्ने कुराको पनि हामीले हेक्का राख्नुपर्छ ।
गरुडनारायणले लखेको विवरणभन्दा ३ गुनाभन्दा पनि बढी पृष्ठको ‘ऐतिहासिक छलफल’ भएकोले यसलाई ‘उपोद्घात’ शब्दले संज्ञित गर्न सकिन्छ । सम्पादकले मिहिनेत गरी थरीथरीका दृष्टिले यस विवरणको विवेचना गरेकाले धेरै कुरा स्पष्ट भए पनि केही कुरा अझै अनुसन्धेय छन् । यस विवरण र यसको विषयमा सम्पादकले गरेको विवेचनाको पूरापूर परीक्षा यस पत्रिकामा स्थानाभाव र मेरो समयाभावले गर्दा सम्भव छैन । यसैले, सरसरी हेर्दा मनमा लागेको कुराको चर्चा गरेको छु ।
‘ललितावल्लभको काव्यले गोंगलको संस्मरण अध्ययन गर्न खास केही सहयोग पुर्‍याउँदैन’ (५३ पृ.) भनी सम्पादकले भने पनि भक्तपुरविजयलाई विषयवस्तु बनाएर लेखिएका २ कृतिको तुलनात्मक परिशीलन हुनु जरूरी छ । काव्य भएकोले ‘भक्तविजयकाव्य’ मा कल्पनाको उडान हुनु स्वाभाविक भए पनि भुसबाट कनिका छाने जस्तै गरी त्यसबाट इतिहास निकाल्न सकिन्छ र गरुडनारायणको विवरणसँग त्यसको तुलना हुन सक्छ । जयप्रकाश मल्ल बित्दा ‘भीत्र्यानि १ सती गयीन्’ (६७ पृ., १०२ पङ्क्ति) भनी लेखिएकोमा ‘भक्तविजयकाव्य’ मा भने ‘स्त्रीयुगल’ अर्थात् २ स्त्री सती गएको (५८ श्लोक) भनी लेखिएको त्यसको एउटा दृष्टान्त हो ।
वंशावलीमा आश्विनवदि ११ रोज ५ मा ललितपुरविजय भएको भनी लेखिएको र त्यस मितिको सत्यापन पनि पञ्चाङ्गगणनाद्वारा भएकोले गरुडनारायणको यस विवरणमा भने ‘उहापछि भाद्र वदि १३ दिन् पछि पाटन् सहर पनि फुट्यो र श्रीतेज मल्ल राजा पनि भागेर भादगाउ पाउ लाग्नु भयो’ (६२ पृ., २५–२६ पङ्क्ति) भनी गरुडनारायणले लेखेकोमा ललितपुरका राजा तेजनरसिंह मल्लले भक्तपुरमा शरण पर्न आएको दिन ‘भाद्र वदि १३’ नभई ‘आश्विन वदि १३’ हुनुपर्ने हो भनी सम्पादकले टिप्पणी गरेका छन् (२१ पृ.) । वंशावलीमा ललितपुरविजयको मिति पूर्णान्तमानअनुसार दिइएको र गरुडनारायणले चाहिँ नेवारहरूले अमान्तमानअनुसार, मिति दिने हुनाले यो अन्तर देखिएको हो । यस कारण सम्पादकले भने जस्तो यसमा महीना बिरिएको छैन, कालमानपद्धति मात्र फरक परेको हो ।
यस विवरणमा रणजित्का ३ छोरा डाटिह्म जुजु, धन जुजु, र मेल् डाटिको चर्चा आएको छ । यी ३ छोरा उनका ७ जना मठ्याहा छोराहरूमध्येका हुन् भन्ने सम्पादकको ठहर्‍याइ छ । सम्पादकले डाटिह्म जुजुको औपचारिक नाउँ अच्युतसिंह र धन जुजुको चाहिँ धनसिंह हो भनी लेखेका छन् (४५ पृ.) ।
गूठीका कागजातबाट ने.सं. ८६८ मा अच्युतसिंहले तलेजुमा चाँदीको केतकीपत्र चढाएको बुझिन्छ (नेपाल–जर्मन हस्तलिखितग्रन्थसंरक्षणपरियोजनाको माइक्रोफिल्म के ३८१।१) । त्यस्ता कागजातमा धनसिंहको चर्चा नआए पनि अजितसिंह (के ३८१।१, ३८८।१३, ३८८।१७, ३८०।६८), उपेन्द्रसिंह (के ३८८।१३) र अवधूतसिंह (के ३८१।१) को चर्चा आएको छ । ने.सं. ८६८ को महाष्टमीको दिन रणजित्, जयलक्ष्मी मैजु र अजितसिंहले तलेजुमा मुकुट अर्पण गरेको देखिएको छ (के ३८८।१७) । यताबाट अजितसिंह जयलक्ष्मीतर्फका छोरा रहेछन् भन्ने देखिन्छ ।
भक्तपुर जितेपछि गोरखालीले नेल ठोकी राखेका आफ्ना छोराहरूलाई बन्धनमुक्त गरिदिने आग्रह काशीवास गर्न जान लाग्दा रणजित्ले गर्दा पृथ्वीनारायणले अस्वीकार गरेको कुरा यस विवरणमा छ । रणजित् बितेको ११ महीनापछि मात्र पृथ्वीनारायणले रणजित्का २ जना छोरा र जुवाइँसँग सलामी कर लिई उनीहरूको अचल सम्पत्ति थामिदिएका थिए
(महेशराज पन्त, ‘पृथ्वीनारायण शाहका, अहिलेसम्म प्रकाशमा नआएका तीनवटा लालमोहर’, ‘पूर्णिमा’ ७७ पूर्णाङ्क, २०४७, १७ पृ.) । वि.सं. १८२६ फागुनमै लेखिसकिएको ‘भक्तविजयकाव्य’मा भने रणजित्लाई काशीवास पठाइसकेपछि पृथ्वीनारायणले चाहिँदो कर दिएर रणजित्का छोरानातिहरूको घरखेत र सम्पत्ति फिर्ता दिएको कुरा छ (१००–१०१ श्लोक) । यताबाट लालमोहर पछि भए पनि रणजित्लाई काशीवास पठाएको लगत्तैजसो उनका सन्तानको घरबार सलामी लिई फिर्ता दिएको देखिएको छ ।
यस विवरणको प्रस्तुतीकरण सम्पादकले पाठालोचनात्मक रीतिले गर्न खोजेको प्रशंसनीय छ । त्यसमाथि, अक्षर टुट्दा मूलपाठमा काकपद दिई दुइटा पङ्क्तिको बीचमा थपिएका त्यस्ता अक्षर मूलपाठमा यसै गरी थपिएकोले यो नयाँ प्रयोग यहाँ गरिएको छ । पहिले लेखिएको अक्षर हटाउनुपर्दा मूलमा यस्तो धर्को हाली हटाएकोमा मूलपाठमा पनि यही हूबहू उतारिनु अर्को नयाँ प्रयोग हो । यसरी मूलको यथारूप प्रस्तुतीकरणमा जोड दिइँदा दिइँदै पनि मूलमा ठाउँठाउँमा हटाउनुपर्ने अक्षरमा मसी दलेको कुरा भने यहाँ खुलाइएको छैन ।
कहीँ कहीँ पाठालोचनका सबै नियमको पालना नभएको पनि देखाउन सकिन्छ । उदाहरणको लागि, मूलमा नष्ट भइसकेका अङ्क वा अक्षर यहाँ प्रसंगानुरोधले यस्तो कोष्ठभित्र राखिएको छ । तर, मूलमा टुटेको अक्षर पनि यस्तै कोष्ठमा राखिएकोले फ्याक्सिमिलि नहेरेसम्म कागज नष्ट भई गएको अक्षर हो कि, लेख्नेले नै छुटाएको हो भन्ने स्पष्ट हुँदैन (उदाहरणको लागि, ६८ पृ., ११६ पङ्क्ति) । मूलमा भएको पाठ यथावद् राखी संशोधित पाठ पनि यही कोष्ठ भित्र राखिएकोले अझ भ्रम पर्न गएको छ (६६ पृ., ८१ पङ्क्ति) । कुनै अक्षर वा अक्षरका मात्रा हटाउनुपर्दा तेर्सो मसिनो धर्को दिई हटाउने चलन पनि प्राचीन लेखपद्धतिमा छ (महेशराज पन्त, ‘जातरूप’ज् कमेन्टरि अन् दि अमरकोष’ १ भाग, दिल्ली, मोतीलाल बनारसीदास, सन् २०००) । मूलपाठमा अघिबाट ‘छोड्योछन्’ (९० पङ्क्ति) लेखिएकोमा त्यसमा पछिबाट एकलख खारिज गर्न त्यसमाथि दुइटा धर्को दिएको नबुझ्दा पाठ दिँदा ‘छोड्योछन्’ (६७ पृ., ९० पङ्क्ति) नै छापिएको छ ।
मूलको उतार सम्पादकबाट पङ्क्ति पङ्क्ति छुट्ट्याई राम्रोसँग गरिएको छ तापनि अझै सावधान भई उतार गर्नुपर्ने देखिन्छ । सबभन्दा पहिलो वाक्यमा ‘गुरवे’ नै ‘गुरूवे’ भई छापिएको छ । ह्रस्व भएकोमा दीर्घ— ‘गरि’को ठाउँमा ‘गरी’, ‘तिन्लाइ’ को ठाउँ ‘तिन्लाई’— हलन्त भएकोमा अजन्त— ‘इन्लाइ’ को ठाउँमा ‘इनलाइ’, ‘मुल्चोक्’ को ठाउँमा ‘मूल चोक’, ‘पाटन्’को ठाउँमा ‘पाटन’, ‘रात्’ को ठाउँमा ‘रात’— शिरबिन्दु नभएकोमा शिरबिन्दु— ‘इटाछे’ को ठाउँमा ‘इटाछें’— ‘र’ को ठाउँमा ‘ल’— ‘तरवार’ को ठाउँमा ‘तलवाल’— चन्द्रबिन्दु नभएकोमा चन्द्रबिन्दु— ‘ज्यूदै’को ठाउँमा ‘ज्यूँदै’— चन्द्रबिन्दु भएकोमा चन्द्रबिन्दु छोडेको— ‘हुँडा’ को ठाउँमा ‘हुडा’— ‘स’को ठाउँमा ‘श’ ‘साहेव’को ठाउँमा ‘शाहेव’— रेफ छुटेकोमा कुनै सूचना नदिई रेफ थपेको — ‘हजूमा’को ठाउँमा ‘हजूर्मा’— हलन्तको ठाउँमा संयुक्ताक्षर— ‘भत्काई’ को ठाउँमा ‘भत्काई’— अनुस्वारमा विपर्यय— ‘भंनुभयो’ को ठाउँमा ‘भनुं भयो’ । यी सब यथारूप नउतारिएकाका केही दृष्टान्त हुन् ।
हामीकहाँ चलेको देवनागरी लिपिमा केही काल अघिसम्म पनि ‘व’ लेखी त्यसको मुनि थोपा दिए ‘व’ उच्चारण गर्ने र ‘व’ अक्षरमा केही थपथाप नगरे ‘ब’ उच्चारण गर्ने चलन थियो । त्यसैले सावाँ अक्षर चिनाउँदा ‘तलथोप्ली व’ भनी पढाउने चलन थियो । मूलपाठ उतार्दा जहाँ जहाँ तल थोपा छैन, त्यसको उच्चारण ‘ब’ गर्ने र थोपा हुँदा ‘व’ भनी उतार्ने चलन छ, तर ‘व’बाट उठ्ने संस्कृत शब्द आयो भने त्यस अक्षरमा थोप्ला नभए पनि ‘व’ नै पढ्ने चलन छ । यहाँ मूलपाठ दिँदा एकनासले ‘व’ लेखिएकोले पाठालोचनको सिद्धान्तबाट यो पाठ पर गएको देखिन्छ ।
प्रूफको अशुद्धि त्यति नभए पनि ‘ब’ र ‘व’को खयाल नराख्दा विन्दु, दरवार, वनारस, प्रतिविम्व, चौविसी, वहादुर, दोस्रो वाजि, वाधक, विहिबार, वितेपछिको, वयान, वूढा राजा, वागी, वन्दोवस्त, व्रम्हनाल, बज्रखाल, जवावी जस्ता वर्णविन्यास ठाउँठाउँमा भेट्टिन्छन् । ‘श’ र ‘स’को छ्यानविचार नगर्दा एउटै शब्द कहीँ ‘शूरप्रताप’ र कहीँ ‘सूरप्रताप’ भई छापिएको छ । संस्कृतभाषामा त्यति अधिकार नभएर होला, प्रशय, भश्म, सक्षम, प्रसंगवस, पदच्यूत, पुनर्स्थापित, तत्व, व्यतित, मौन रहनु, सविस्तार उल्लेख, संसामयिक जस्ता वर्णविन्यास पनि यहाँ परेका छन् । भक्तपुरका अन्तिम राजाको नाउँ यहाँ सर्वत्र ‘रणजित’ छापिएकोले ‘लडाइँ जित्ने’ अर्थमा रहेको मूल शब्द ‘रणजित्’को अर्थविपर्यय भई ‘लडाइँमा जितिएको’ अर्थमा परिणत हुन गएको छ ।

कोसेली

शासकहरू मानिसलाई अलग्याउँदै छन् 

- कान्तिपुर संवाददाता

पाकिस्तानको शरणार्थी शिविरमा जन्मिएका २५ वर्षीय लेखक जमिल जान कोचाई आफ्नो पहिलो किताब ॅ९९ नाइट्स इन लोगाड’ डीएससी पुरस्कारको सर्टलिस्टमा परेको अवसरमा पोखरा आइपुगेका थिए । नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन ॅराइटिङ होम एन्ड द होमल्यान्ड’ सेसनमा उपस्थित थिए । किताबमा उनले लेखेको लोगाड अफगानिस्तानको उत्तरी भागमा पर्ने सुन्दर सहर हो । रसियन र अमेरिकी सेनाहरूले लामो समय संघर्ष गरेको गरेको उक्त ठाउँले धेरै युद्ध भोगेको छ । युद्धका धेरै कथा उनका किताबमा मिसिएका छन् । सुरज सुवेदीको प्रश्न :

 

आफूभित्रको लेखकलाई कसरी चिन्नुभयो ?
स्कुलमा म धेरै पुस्तक पढ्थेँ तर आफैँले केही लेखेको थिइनँ । हजुरआमा, बुबाआमा, आन्टीहरू कथा सुनाउनुहुन्थ्यो । म सुनाइएका कथासँग हुर्किएँ । हाइस्कुलको अन्तिम वर्षमा शिक्षकले क्रिएटिभ राइटिङ क्लासका लागि नाम पठाइदिनुभएछ । त्यही क्लासमा गएर मैले पहिलोपल्ट लेखेँ । जब मैले लेखेँ त्यहाँका शिक्षक र विद्यार्थीहरूले मन पराएँ । अर्को वर्ष युनिभर्सिटी गएपछि क्रिएटिभ क्लासमा भर्ना गरेँ । त्यहाँको शिक्षक मेरो महत्त्वपूर्ण मेन्टर बन्नुभयो । उहाँसँग अहिले पनि सम्पर्कमा छु । त्यसपछिका हरेक वर्ष मैले एउटा वा दुइटा क्रिएटिभ क्लास लिइरहेँ । पढ्न भेटे जति पढेँ । क्रिएटिभ राइटिङ, वाक्य संरचना, व्याकरणलगायत क्षेत्रमा सुधार गर्न मद्दत गर्ने अनेक किताबहरू पढेँ ।

धेरै मानिस पढ्नका लागि राम्रो हुन्छन् तर लेखनसम्म पुग्न सक्दैनन् । पढ्ने पाठकबाट लेख्ने लेखकमा पुग्ने दोबाटो कति बेला पत्तो लाग्छ ?
ठ्याक्कै के हो भन्ने मलाई पनि थाहा छैन । तर लेख्न थाल्दा प्लट, पात्र वा आइडियाबारे केही पनि थिएन । म केवल राम्रा वाक्य लेख्न चाहन्थेँ । वाक्यबाट अनुच्छेद, पेज अनि पाठ । त्यो प्रक्रिया बिस्तारै बढ्दै गयो । युनिभर्सिटीको प्रोफेसर लेखकले पढ्ने हरेक चीजले लेखनलाई मद्दत गर्ने हुनुपर्छ भनिरहनुहुन्थ्यो । त्यसरी बलियो वाक्य लेख्ने प्रयास बिस्तारै बलियो अनुच्छेद, बलियो कथा, र बलियो उपन्यास बन्दै गयो ।

एक अन्तर्वार्तामा लेखिरहेको बेला पछाडि छुटेको घर र कथा जहिल्यै पनि आफूसँगै थियो भन्नुभएको छ । त्यो कथा आफूसँग छ भन्ने कसरी थाहा भयो ? त्यो पहिला नै थियो या पछि चिनिएको लेखकले लिएर आयो ?
अमेरिकाको स्कुलमा अंग्रेजी सिक्न प्रयासरत हुन्थेँ । अरूसँग घुलमिल हुने प्रयत्न गर्थेँ तर संस्कार र भाषा थाहा नभएको कारण कम साथी थिए । म पहिलोपल्ट अफगानिसतान ६ वर्षको हुँदा गएको हुँ । त्यो मेरो जीवनको एकदमै महत्त्वपूर्ण समय थियो । पहिलोपल्ट धेरै आफन्त भेटेँ । गाउँमा घुमेँ । भेडा र गाईहरूसँग सँगसँगै दौडिएँ । सम्झनाहरू सँगालेँ । अमेरिका फर्किएँपछि लोगाड कति सुन्दर छ भन्ने बयान गरेर थाकिनँ । १२ वर्षको हुँदा म फेरि त्यहाँ गएँ । अमेरिका फर्किएर हरेक पल सोचिबस्थेँ । अफगानिस्तान कति सुन्दर छ भन्ने कुरा लागिरहन्थ्यो । त्यही याद, सम्झना र नोस्टालजियाले होला सायद जब म केही लेख्न खोज्थेँ कथा लोगाडमै पुगिहाल्थ्यो ।

अर्को अन्तर्वार्तामा लोगाड सहर सुन्दर र डरलाग्दो दुवै थियो भन्नुभएको छ । त्यस्तो किन भन्नुभयो ?
त्यहाँ जानुभन्दा पहिला अरू अमेरिकनले जस्तै मैले पनि अफगानिस्तानको बारेमा सुनेको थिएँ । धारणा त्यहीअनुसार बनेको थियो । पहिलोपल्ट जाँदा आफ्नै मान्छेहरूसँग म डराइरहेको थिएँ । मलाई आफ्नै देशसँग डराउनुपर्छ भनेर पढाइएको थियो । त्यहाँ मैले सेना देखेँ । आकाशमा उडिरहेका लडाकु विमान देखेँ । बम पड्किएको सुनेँ । तर सँगै त्यहाँ भएका धेरै चीजलाई प्रेम पनि गरेँ । दिदीबहिनीहरूसँग गाउँ घुम्न गएँ । साथीहरू बनाएँ । त्यसको सुन्दरताले मलाई मोहनी लगाएको थियो । यो धेरै खुसी र धेरै डर एकैपल्ट मिसिएको समय थियो । पहिलोपल्ट आफूलाई जीवित महसुस गरिरहेको थिएँ । त्यो महसुस मलाई अमेरिकामा कहिल्यै पनि भएन । जब फर्किएँ त्यो महसुस सँगै होस् चाहिरहेँ । त्यसैले त मैले लेख्ने अक्षरमा लोगाड आइरहन्छ ।
अंग्रेजी भाषाले आफूभित्रको अफगानिस्तान र लोगाडको ठाउँ खोसेको बताउनुभएको छ । किताबमा त्यसैले पनि पास्तो भाषाका धेरै अक्षर र पाठ अनुवाद नगरी छोडिएको छ । किन ?
भाषा महत्त्वपूर्ण कुरा हो । सबै लेखकले यो कुरा दिमागमा राख्नैपर्छ । अंग्रेजी सिक्नु नराम्रो हैन तर यसलाई आफ्नो भाषाको मूल्यमा सिक्नु हुँदैन । लेखनमा करियर बनाउनका लागि अंग्रेजीमा लेख्नुको धेरै महत्त्व छ । प्रकाशन गर्न सजिलो हुन्छ । तर यसको मतलब आफ्नो भाषा गुमाएर अंग्रेजीमा लेख्नु हैन । आफ्नो भाषा र साहित्यको इतिहाससँग परिचित नभई नयाँ भाषामा पनि खासै केही गर्न सकिँदैन । साहित्यमा हुने सबैभन्दा शक्तिशाली आवाज फरकफरक भाषा मिसिएर बनेको आवाज भइदिन सक्छ । मलाई मेरो मातृभाषा आउँदैन तर त्यसका शब्दहरू राख्नका लागि श्रीमतीले धेरै मद्दत गरिन् ।

९/११ को आतंककारी हमलाले तपाईंको लेखनमा कसरी प्रभाव पारेको छ ?
म ९ वर्षको थिएँ । टीभीमा कार्टुन हेरिरहेको थिएँ । कार्टुन अकस्मात् रोकिएर ठूलो बिल्डिङमा आगो लागिरहेको दृश्य देखियो । के भइरहेको हो भन्ने मलाई थाहा थिएन । स्कुलमा जाँदा मानिसले यसको बारेमा कुरा गरेको र कोही रोइरहेको देखेँ । ठूलो कुरा भएको रहेछ भन्ने त्यस बेला लाग्यो ।केही दिनमा अमेरिकाले अफगानिस्तानलाई दोष लगायो । सेना पठायो भन्ने सुनियो । त्यसपछि म बसेको ठाउँ र म आएको ठाउँको बीचमा सम्बन्ध नमीठो बन्यो । लडाइँ भयो । विद्यार्थीहरू मसँग रिसाउन थाले । उनीहरू मलाई नाम र देशको नाम लिएर जिस्काउँथे । आतंकवादी भन्थे । बिन लादेन मेरो अंकल वा हजुरबुबा हो भन्थे । म अरूभन्दा फरक रहेछु भन्ने लागेथ्यो । अस्वीकार्य भएको जस्तो लाग्थ्यो । यसले मेरो पहिचान र म आफूलाई कसरी हेर्छु भन्ने कुरामा पनि व्यापक अन्तर ल्याइदियो । मैले लेखेका कथाहरूमा त्यो बुझाइको ठूलो असर छ । त्यो घटनाले मलाई म को हुँ भन्ने कुरा खोज्दै हिँड्ने बनाएको छ ।

एक कठिन इतिहास बोकेको लोगाडजस्तो सहरको बारेमा लेख्नु कत्तिको कठिन र जिम्मेवारीयुक्त काम रहेछ ?
लोगाड लामो समयसम्म लडाइँ भोगेको ठाउँ हो । म स्टेरियोटिपिकल हुन नखोजे पनि, लोगाडलाई बारम्बार लडाइँ भइरहेको खतरा ठाउँको रूपमा चित्रण गर्न नखोजे पनि म एकदमै साँचो र इमानदार हुन भने खोजेको छु । देशमा भइरहेको पीडा र दुःखलाई मैले बरालेको छैन । कथा लेख्दा त्यस बेला गरिएका हत्या, झारिएका बम, आमहत्याजस्ता कुराहरू छुटाउँदिनँ । म मान्छेलाई यहाँ यस्तो भएको थियो र त्यो कुरा हामीले बिर्सिएका छैनौँ भन्ने कुरा बताइरहन चाहन्छु । कुनै बेला यो कुरा भार भएको जस्तो पनि लाग्छ तर सँगै एक लेखकको रूपमा यी कुरा मेरा जिम्मेवारी हुन् भन्ने कुरा पनि सम्झिन्छु । ती मारिएका मान्छे वास्तविक मान्छे थिए । तिनको जीवन थियो । तिनका परिवार थिए । तिनलाई माया गर्ने मान्छे थिए । तिनलाई जानीजानी मारिएको थियो । मानिसहरूलाई यो कुरा भुल्ने अधिकार छैन ।

रिसर्चमा गएको बेला वा इतिहास पढिरहेको बेला यो कुरा त्यस बेला नगरेको वा गरेको भए यस्तो हुँदैन थियो भन्ने लाग्छ कि लाग्दैन ?
एकदमै लाग्छ । इतिहासमा यस्ता धेरै अवसर थिए जति बेला अफगानिस्तानलाई धेरै यस्ता राजनीतिक निर्णय गर्ने अवसर थियो । तर तिनले गरेनन् । त्यसले देशलाई यस्तो दलदलमा पुग्नबाट बचाउने थियो । तिनले सिकेनन् । पटकपटक नेतृत्वले जनतालाई असफल बनाइरहे । ती शक्तिमा त पुगे तर आफू कुन सपना बेचेर त्यहाँ पुगेको हो भन्ने कुरा बिर्सिए । तिनले शक्तिका लागि धेरै कुरा बेचे । जनतालाई सुनेनन् ।
मेरो बुबा यसको बारेमा बारम्बार कुरा पनि गरिरहनुहुन्छ । सोभियत अकुपेसनको रेजिस्टेनको समयमा त्यहाँ धेरै राम्रा कमान्डर र मान्छेहरू थिए । ती देशको चिन्ता गर्थे तर तिनलाई पनि मारियो । मानिसहरूलाई युद्धबाट निकाल्ने धेरै अवसरमा उनीहरू पटकपटक असफल भएका छन् । त्यसको असर अहिले भोग्नुपरिरहेको छ ।

संसारभर धेरै शरणार्थी उत्पादन भइरहेका छन् । तपाईंको परिवार पनि शरणार्थी थियो । यसलाई कसरी हेर्नुहुन्छ ?
शरणार्थी तथा विस्थापनको समस्या बढिरहेको छ किनकि राज्य वा देशको जुन पुरानो बुझाइ हामीमा थियो त्यो असफल हुँदै गएको छ । यूके, अमेरिका तथा भारतमा भएका पछिल्ला चुनावलाई हेर्दा अति राष्ट्रवादीहरू उदाइरहेको देखिन्छ । त्यसले घृणा वा द्वन्द्वलाई बढावा दिइरहेको छ । देशको सिमाना बलियो बनाउने नाममा देशभित्र भएका सानासाना समूहहरूलाई लगाउने काम भइरहेको छ । अमेरिका आफ्नो बोर्डर बलियो बनाउने भनिरहेको छ सँगै सिरिया र अफगानिस्तानमा बम खसाल्न छोडेको छैन । लाखौँ मान्छेलाई घरबारविहीन बनाइरहेको छ । यो एकदमै विरोधाभास कुरा भयो । शासकहरू देश बलियो बनाउने नाममा मानिसहरूलाई अलग्याउँदै छन् । यो डरलाग्दो छ ।

Page 23
कोसेली

अच्युतानन्दको ‘विमानशास्त्र’

- टीका ढकाल

सत्ताईसौं अध्यायमा पुगेपछि बालकृष्ण समका ‘मेरो कविताको आराधन’ आकाशबाट कागजको कलेवरमा खसेको अलिकति उज्यालोजस्तै भइदिन्छ । त्यही रोमाञ्चक उज्यालोले डोर्‍याएर प्राचीन ग्रीसेली किंवदन्तीमा वर्णित आइकारस र डिडालसको कथा हुँदै आर्य सभ्यताका महर्षि भरद्वाजकृत ‘बृहद विमानशास्त्रसम्म’ लैजान्छ । त्यससँग सम्बद्ध रहेर बीसौं शताब्दीमा भएका केही मनोरञ्जक, केही अपत्यारिला वैज्ञानिक प्रयोगसम्म खिंच्छ ।
पौराणिक सत्य र ऐतिहासिक सत्यका बीचमा रहेको अन्तर प्राज्ञिक जगत्ले खुट्याउन थालेको धेरै भैसक्यो । आम नागरिकको तहमाचाहिं विश्वव्यापी असमञ्जसको समानान्तर शृंखला सँगसँगै चलिरहेकै छ । जगत्का सत्यसँग शताब्दीयौंसम्म श्रुति, स्मृति, लोककथा र कल्पनालाई बुनेर निर्माण भएको ऐतिहासिक कृतिले पौराणिक सत्य निर्माण गर्छ । जुन बेला इतिहासका अभिलेखजन्य प्रमाणले ती घटनाको अस्तित्व निश्चित गर्छन्, त्यो ऐतिहासिक सत्य बन्न पुग्छ । त्यसैले ‘मेरो कविताको आराधन’ मा उल्लेख गरिएका पण्डित अच्युतानन्द, उनले प्रयास गरेको प्रारम्भिक इन्जिनियरिङ कला, विज्ञानमा समर्पित भएर घरखेत गुमाएको तथ्य आदि ऐतिहासिक सत्य हुन् । बृहद् विमानशास्त्र पौराणिक सत्य हो । आइकारस र डिडालसचाहिं दन्त्यकथा ।
सबै ‘पौराणिक सत्य’ वास्तविक सत्य हुँदैनन् वा सधैं असत्य रहिरहन्छन् भन्ने पनि छैन । पौराणिकताबाट कल्पनालाई अलग्याएर सत्य छुट्याउने बौद्धिक कर्म प्राचीनकालदेखि हालसम्म निरन्तर चलिरहेकै छ । अंग्रेजीमा ‘मिथ’ भनिने पौराणिकता अपरीक्षित मान्यता (एजम्सन) हो, जसलाई आधुनिक इतिहासकारहरू प्रमाणद्वारा परीक्षण गर्नु
आफ्नो पहिलो दायित्व ठान्छन् (पिटर हिस, ‘मिथ, हिस्ट्री एन्ड थ्योरी’, जर्नल अफ हिस्ट्री एन्ड थ्योरी, संख्या ३३, पृष्ठ १–१९) । महाभारत वा रामायणका घटनाको ऐतिहासिक प्रमाण खोज्ने कार्य त्यसैले चलिरेहको हो । यद्यपि जडवत् वाक्यहरूमा पौराणिकतलाई पेस गर्ने राजनीतिले आज यस्तो परिशीलन असजिलो, खतरायुक्त बनाएको छ । धर्मआधारित राजनीतिको मुख्य जग पौराणिकता भएकाले उसले पौराणिक सत्यलाई इतिहासका रूपमा अर्थ्याउन थाल्छ । आम मानिसलाई पनि त्यसैगरी सोच्ने फरमान जारी गर्छ । उदाहरणका लागि आजको भारतमा गान्धीको इतिहाससँग हिन्दुत्वको पौराणिकता संघर्षरत छ, जबकि हिन्दु गान्धी आफैं पौराणिकतामा विश्वास राख्थे । मुस्लिम जगत्मा प्रोफेट मुहम्मदको चित्र बनाउनु मात्र पनि मृत्युदण्डकारक हुन्छ । क्रिस्चियनहरूका सम्प्रदायअनुसार फरक पौराणिक विश्वास छन् । धार्मिक हुनु र धर्मभीरु हुनु फरक कुरा हुन् । भीरु चरित्रले पौराणिकताको परिशीलन रोकेर सत्य खोज्ने परिश्रमलाई निस्तेज गर्छ, अन्धविश्वासमा लिप्त राख्छ । धार्मिक हुनुले समाजलाई अनुशासन र कर्तव्यको बाटोतर्फ प्रेरित गर्छ । तसर्थ, मानिस धार्मिक होस्, भीरु नहोस् । समले सम्झाइरहने अच्युतानन्द धार्मिक छन् । उनमा असाधारण वैज्ञानिक वृत्ति पनि सँगै देखिन्छ । समलाई त्रिचन्द्र कलेजमा पढाउने पण्डित पीताम्बर अच्युतानन्दका पारिवारिक नातेदार भएकाले उनैका माध्यमबाट समले अच्युतानन्दलाई भेटे,
आफ्नो संस्मरणमा उनका कुरा लेखे ।
युवा अवस्थामा अध्ययनका लागि बनारस गएकाबखत अच्युतानन्दले रेल गाडी देखे, चढे । एकीकृत वाष्पशक्तिले त्यसको इन्जिन चलेको थाहा पाए । यताबाट गएका वा उतैका अरूले पनि रेल गाडी देखेका हुन्, चढेका हुन् । केवल अच्युतानन्दको मस्तिष्कलाई त्यसले हुँडल्यो, हुँडलिरह्यो । आफ्नो जीवनमा यस्तै अनुभवहरू सँगालेका पूर्वभारतीय राष्ट्रपति एपीजे अब्दुल कलामले भनेका होलान्— सपना त्यस्तो होस् जसले निदाउन दिंदैन ।
धेरै अघि अच्युतानन्द पनि निदाएका थिएनन् । बनारसबाट नेपाल फर्केपछि बीस वर्ष लगाएर दुई जना अट्ने चारपांग्रे गाडीलाई वाष्पशक्तिले चलाएर देखाए । उनको महत्त्वाकांक्षा बढ्यो । उड्ने जहाज बनाउने उद्योग गर्न थाले । उनीसँग एउटा जिज्ञासु मस्तिष्कबाहेक अर्थोक थिएन । यो घटना अमेरिकी राइट दाजुभाइले हवाइजहाजको आविष्कार गर्नुभन्दा निकै अघिको हुनाले संसारमा ‘एरोडाइनामिक्स’ जन्मिसकेको थिएन । रेल चलेको देख्नुबाहेक अर्को अनुभव वा आधुनिक विज्ञानको अध्ययन गर्ने सम्भावना अच्युतानन्दसँग थिएन । त्यसैले, जर्मन वैज्ञानिक डेम्लरले अलिक पहिले बनाएको आन्तरिक ज्वलन मेसिनबारे पनि यिनलाई थाहा थिएन । बीस वर्षको अनुत्पादक खर्चले त्यसबेलाको समयमा नौ हजार रुपैयाँ ऋण बोकायो । भतिज पीताम्बरका माध्यमबाट जनरल गेहेन्द्रशमशेर (पहिलो वैज्ञानिक मानिएका) लाई गुहारे । गेहेन्द्रले उनका बाबु तत्कालीन प्रधानमन्त्री वीरशमशेरबाट दस हजार रुपैयाँ सहयोग दिलाइदिए ।
वीरशमशेरले ती दरिद्र वैज्ञानिकलाई भनेका वाक्य सम लेख्छन्, ‘हेर पण्डित राम्रो उद्योग गरेछौ, उहाँ सवारी भएका बेलामा श्री ५ मुमा बडामहारानीलाई पनि नजर गराएछौ, यहाँ चाहिएको बेलामा म पनि डाकुँला, जेठा (गेहेन्द्र) लाई दस हजार दिनु भनिदिएको छु, ऋण तिर, तर अब यस्तो बनाउँदा हामीलाई जाहेर गरेर मात्र गर्नु, अहिले आफ्ना आँटले बनाएछौ, भैहाल्यो (सम, मेरो कविताको आराधन, पृष्ठ १०४)।’
नेपालको पहिलो वैज्ञानिक त धादिङ जिल्लाको चरंगे फेदी अचानेका यी अच्युतानन्द पो देखिए । उनले बनाएको वाष्पचालित गाडी कता पुग्यो होला ? जोगाएर राख्न सकेको भए कमसेकम आज छाउनी संग्रहालयमा देखिन्थ्यो कि ? श्री ३ वीरशमशेरका जेठा छोरा गेहेन्द्रले बनाएको तोपसमेत लिलामी हुने देशमा एउटा शक्तिहीनको आविष्कार बाँच्न के सम्भव हुन्थ्यो होला र ?
वीरशमशेरबाट पाएको पैसाले ऋण तिर्नुको साटो अच्युतानन्द जहाज बनाउन थाले । अर्को बीस वर्ष धातु र इन्धनको प्रयोग नबुझी अनेक असफल प्रयास गरेका उनका सुरुआती सामान काठ र बाँसका थिए । प्रारम्भिक वैज्ञानिक प्रयोगहरू यस्तै उटपट्याङ हुँदा हुन् । बाफले जहाज नचल्ने बुझेपछि मट्टीतेलको इन्धनमा आइपुगे र इन्धन राख्ने भाँडोचाहिं धातुको हुनुपर्छ भन्ने बुझे । फेरि ऋणमा डुबे । वीरशमशेरको देहान्त भैसकेको थियो । अन्यत्रबाट सहयोग पाउने सम्भावना थिएन । विक्षिप्तजस्तै भएर उनी काठमाडौंको चपलीघाटमा तपस्या गर्न थाले, उड्ने मेसिन बनाउन । अनेक खाले चंगा बनाएर उडाए । अनेक पार्टपुर्जा जोडेर तयार गरे । उनको नाम नै विमान पण्डित राखिदिए मानिसहरूले । चपलीघाटमा दिनदिनै रमिता लाग्न थाल्यो ।
अनौठो काम भैरहेको, मानिस जम्मा भैरहेको देखेर एक दिन प्रहरी आएर सोध्यो, ‘बाजे, के बनाउन लाग्नुभएको ?’
‘जहाज ।’
‘कहाँ उडाउने ?’
‘आकाशमा ।’
‘दरबारमाथि पनि उड्छ ?’
‘उड्यो भने सबैतिर उड्छ ।’
‘लौ बाजे, त्यसो भए यो सबै छुट्याउनोस्, आइन्दा हामीलाई नसोधी हात नहाल्नुहोला’ (सम, उही, पृष्ठ १०५) ।
अनि उनका कलपुर्जा आगोमा जले । यसैबेला, करिब सबैथोक सकिएर सडकमा आइपुगेका बेला, समले उनलाई भेटेका थिए । यी अच्युतानन्दको सम्झना मात्र पनि नेपालका लागि प्रेरणादायी हुन सक्छ । अलिक वर्षपछि अमेरिकामा राइट दाजुभाइले साइकल मर्मत गर्ने आफ्नै पसलका पार्टपुर्जा जोडेर साँच्चै उड्न सक्ने जहाज बनाए । राइट दाजुभाइको आविष्कार पनि नमुना मात्र थियो । त्यसमा सयौं वैज्ञानिकले करिब एक दशक लगाएर गरेका सयौं परिष्कारपछि पहिलो विश्वयुद्धमा प्रयोग गर्न सन् १९१४ मा पहिलोपटक यात्रुबाहक जहाज उडाइयो, जसमा १६ जना यात्रु सवार थिए ।
अच्युतानन्दको असफल प्रयोगले प्राचीन ग्रीसको एउटा दन्त्यकथा सम्झाउँछ, जसमा डिडालस र आइकारस ‘वैज्ञानिक’ बाबुछोराको वर्णन छ । इसापूर्व ४३ मा जन्मेर इस १७/१८ मा मृत्यु भएका रोमन कवि ओभिडले सबैभन्दा पहिले यो कथा लेखे, आफ्नो ‘मेटामोर्फोसिस’ शीर्षकको लामो काव्यभित्र । ओभिड, होरेस र भर्जिललाई प्राचीन रोमन साहित्यका त्रिमूर्ति मानिन्छ । ल्याटिन भाषामा लेखिएको मेटामोर्फोसिसलाई पछि अंग्रेजी कविहरू सर स्यामुअल गार्थ र जोन ड्राइडेनले अंग्रेजीमा अनुवाद गरे । पन्ध्रवटा अलग खण्डका पुस्तकाकारमा मेटामोर्फोसिस प्रकाशित छ । हलिउडका ‘साइन्स फिक्सन’ मा ग्रीसेली वा नर्डिक पात्रहरू जोडेर आजकल बनाइने सिनेमाका आदिस्रोत यिनै प्राचीन कृतिहरू हुन् ।
मेटामोर्फोसिसको आठौं पुस्तकअनुसार प्राचीन ग्रीसको एक राज्य ‘क्रिट’ का राजा मिनोसले आफ्नो पराक्रम निर्वाध रहोस् भन्नका लागि समुद्रकी देवी पोसाइडनलाई खुसी राख्न बलि दिने विचार गरे । हिन्दु पौराणिक मान्यताअनुसार पनि भाग्य र सम्पत्तिकी देवी लक्ष्मी समुद्रकै छोरी हुन् । तर, पोसाइडन आक्रोश, अहंकार, आँधी, भूकम्प र एकै छिनमा बदलिने स्वभावका लागि चिनिन्छिन् । लक्ष्मीको कोमलता र दयाको ठीक विपरीत स्वभाव छ ग्रीसेली देवीको । उनले आफूलाई दिइने बलिका लागि एक सुन्दर सेतो गोरु समुद्रबाट सिर्जना गरी मिनोसकहाँ पठाइन् । त्यो गोरुको सुन्दरतामा लोभिएर राजा मिनोसले अर्कै गोरु बलि दिए, जसले पोसाइडनलाई आक्रोशित बनायो । उनले मिनोसकी रानी ‘प्यासिफाए’ लाई त्यो गोरुसँग प्रेममा फसाइन् र सहवाससम्म धकेलिन् । रानीले आधा गोरु, आधा मानव स्वरूपको मानवभक्षी राक्षस मिनोटोरलाई जन्म दिइन् । लगभग अपराजेय त्यस राक्षसलाई डिडालसले बनाएको ‘लेबिरिन्थ’ भित्र नौ वर्ष बन्दी बनाइयो । पहिले रानीलाई र पछि आफ्नी छोरी ‘एरियन’ को प्रेमी थिसियस (जसले मिनोटोरलाई मार्छ) लाई सहयोग गरेको थाहा पाएपछि डिडालस र उसको छोरा आइकारसलाई नै लेबिरिन्थभित्र मिनोसले कैद गरिदिए ।
‘इन टिडियस एक्जाइल नाउ, टु लङ डिटेन्ड
डिडालस ल्यांग्विस्ड फर हिज नेटिभ ल्यान्ड
...हिज बोई यङ आइकरस नियर हिम स्टुड
अन्थिन्किङ अफ हिज फेट, विथ स्माइल्स पर्सुड... ।’ (ओभिड,मेटामोर्फोसिस, पुस्तक ८, भर्स १६–१७)
(लामो कैदी जीवनमा डिडालसलाई मातृभूमिको याद आइरह्यो, ...उसको युवा छोरो आइकारस नजिकै टीठलाग्दो गरी उभिएको हुन्थ्यो, आफ्नै भाग्य सम्झेर... ।)
डिडालसले अन्ततः मैनमा जोडेका पखेटा लगाएर छोरालाई कैदबाट भगाउँछ । तर, आकाशमा धेरै माथि उड्नाले मैन पग्लेर पखेटा खुस्किन्छन् । आइकारस जमिनमा खस्छ, उसको मृत्यु हुन्छ । यसरी, हरेकपल्ट नयाँ र अप्ठ्यारा सामान बनाउनुपर्दा एथेन्सका छिमेकी राज्यले समेत खोजी गरिने डिडालस आफ्नो समयको टमस एडिसनजस्तै थियो भन्न सकिन्छ ।
दन्त्यकथाका पात्रहरूको जीवनमा अनेक संयोग र चमत्कारका प्रसंग जोडिएर आउँछन् । डिडालस बाबुछोराको अस्तित्व केवल मिथक हो भने कवि ओभिडचाहिं ऐतिहासिक सत्य । पहिलो शताब्दीको सुरुतिर लेखिएको मानिने मेटामोर्फोसिसका रचानाकर ओभिडको मस्तिष्कमा मानिस सवार हुने अलग्गै विमान होइन, मानिसकै शरीरमा जोडिएका पखेटा भए उड्न सकिने विचार आयो । सायद चराहरू उडेको यथार्थले उनलाई त्यस्तै काल्पनिकीको निर्माण गर्न प्ररित गर्‍यो, जसलाई उनले
आफ्ना पात्रहरूमा आरोपित गरे । ओभिडको कल्पनामा जहाज आइसकेको छैन । तर, रोचक यथार्थ के हो भने मानिसले गुड्नेभन्दा उड्ने कल्पना धेरै पहिले गर्न थालेको देखिन्छ ।
उड्ने सामर्थ्यको अझ प्राचीन उल्लेख आर्य–हिन्दु सभ्यताका वैदिक ग्रन्थहरूमा पाइन्छ । इसापूर्व १७०० आसपास रचना भएको मानिने ऋग्वेद संसारकै सर्वप्राचीन पूर्ण ग्रन्थ हो । ऋग्वेदअघि सुमेरियन सभ्यताका सानातिना अभिलेखहरू पाइएका छन् । आजको दक्षिणी इराकमा पर्ने सुमेर र मेसोपोटामियाकालीन गिल्गामेस राजाको कहानी समेटिएको महाकाव्य ऋग्वेदभन्दा पहिलेको प्रामाणिक कृति हो । आधुनिक उदार लोकतन्त्रमा आवश्यक पर्ने समाज र राज्यबीच नियन्त्रण–सन्तुलनको विकास खोतल्ने क्रममा गिल्गामेसकालीन आदिम मानिसले सामना गर्नुपरेको राज्यशक्ति विन्यासको प्रश्नलाई वर्तमान बसर अल असदकालीन सिरियाको अवस्थासँग तुलना गर्दै डारोन असिमोग्लु र जेम्स रबिन्सनले ‘गिल्गामेस संकट’ भन्ने नाम दिएका छन् (असिमोग्लु र रबिन्सन, न्यारो कोरिडर, प्राक्कथनको पृष्ठ ८) । सुमेरियन सभ्यताको समकालीन विश्वका प्राचीन कृतिहरूमध्ये ऋग्वेद यस्तो ग्रन्थ देखापर्छ, जसले आजपर्यन्त मानवसभ्यतालाई आश्चर्यमा पारिरहेकै छ । विवाह, धार्मिक अनुष्ठानलगायत विभिन्न प्रयोजनका लागि अहिले पनि उच्चारण गरिने मन्त्रहरू सामेल भएको ऋग्वेदको प्रयोग करिब चार हजार वर्षसम्म निरन्तर भैरहेको छ । गिल्गामेसको महाकाव्यभन्दा विशाल, व्यवस्थित र पूर्ण ग्रन्थका रूपमा ऋग्वेदवरिपरि जति मात्रामा अनुसन्धान, व्याख्यान र संकथनहरू निर्माण भएका छन्, त्यति अन्य कुनै प्राचीन ग्रन्थमाथि भएका छैनन् । युनेस्कोको विश्व सम्पदा सूचीमा सामेल ऋग्वेदका प्राचीन पाण्डुलिपिमध्ये भोजपत्रमा लेखिएका करिब ३० वटा भारतको मुम्बईस्थित भण्डारकर अनुसन्धान संस्थामा सुरक्षित छन् । हाल प्रचलनमा रहेका वैदिक ग्रन्थहरू अठारौँ र उन्नाईसौं शताब्दीमा संगृहीत विभिन्न १७००० अलग पाण्डुलिपिबाट तयार गरिएका हुन् । ऋग्वेदमा मानिसको उडान कल्पनाका प्रारम्भिक अभिलेखहरू धेरै छन् । उदाहरणका लागि पहिलो मण्डल, पच्चीसौं सूक्तको सातौँ यो मन्त्र–
वेदा यो वीनां पदमन्तरिक्षेण पतताम् । वेदा नाव समुद्रियाः । (ऋग्वेद १।२५।७)
(हे वरुण...) तिमीलाई अन्तरिक्षमा पक्षीसरि उड्ने मार्ग थाहा छ, समुद्रमा चल्ने नौकाको बाटो थाहा छ ।
ऋग्वैदिक मीमांसाभित्र प्रवेश गरिसकेपछि आधुनिक विज्ञानले खुट्याउने पौराणिक र ऐतिहासिक सत्यबीचको अन्तर अझ प्रस्टसँग देखिन्छ । कहिलेकाहीं वैज्ञानिकहरू पनि पौराणिकतातर्फ बहकिएका हुन्छन् । तर, त्यतिले मात्रै त्यसको वैज्ञानिक सत्य पुष्टि हुँदैन । जस्तो, सन् २०१५ जनवरी ३–७ मा भारतको मुम्बईमा आयोजित अन्तर्राष्ट्रिय विज्ञान सम्मेलनमा प्रस्तुत एउटा कार्यपत्रद्वारा घोषणा गरियो— करिब सात हजार वर्षअघिको आर्य सभ्यतासँग उड्न सक्ने विमानहरू थिए । केरलाको उड्डयन महाविद्यालयका विमानचालक आनन्द बोदास र उनका सहयोगी अमेय जाधवले गरेको यो दाबीलाई संसारका धेरै वैज्ञानिक संस्थाहरूले खण्डन गरे । आफ्नो दाबी प्रमाणित गर्न बोदास र जाधवले अघि सारेको स्रोत महर्षि भरद्वाजले रचना गरेको भनिएको प्राचीन ‘वैमानिक प्रकरण’ वा बृहद् वैमानिक शास्त्र थियो
(बोदास र जाधव, एभिएसन इन द वेदिक एज (कार्यपत्र), १०२ औं अन्तर्राष्ट्रिय भारतीय विज्ञान सम्मेलन २०१५, मुम्बई) ।
ब्रह्ममुनि परिब्राजकको सम्पादनमा ‘बृहद् विमानशास्त्र’ सन् १९५९ मा पहिलोपल्ट प्रकाशित भएको थियो । अनुष्टुप छन्दका तीन हजार संस्कृत श्लोक र तिनको हिन्दी अनुवादसहित प्रकाशित यो कृतिले विज्ञान जगतमा त्यसबेला ठूलै हलचल ल्यायो । रामायणमा उल्लिखित पुष्पक, महाभारतकालीन राजा भोजद्वारा लेखिएको मानिने
‘समराङ्गणसूत्राधार’ मा कल्पित विमान, ‘युक्तिकल्पतरू’ मा वर्णित व्योमयान आदिको उदाहरण पेस गर्दै महर्षि भरद्वाजले ‘यन्त्रसर्वस्व’ ग्रन्थको एक अंगका रूपमा ‘वैमानिकशास्त्र’ को रचना गरेको दाबी यस कृतिमा गरिएको छ । यसको प्रारम्भिक प्रतिलिपि (पाण्डुलिपि होइन) भारतको बडोदा संस्कृत लाइब्रेरीमा पाइएको थियो । कृतिमा गरिएको दाबीअनुसार महर्षि भरद्वाजप्रणित प्राचीन विमान विज्ञानका चालीसमध्येको एक अंश मात्र भेटिएको हो । विमानको गति, मार्ग, प्रकार, प्रयोग र निर्माणकलाको विस्तृत वर्णन भएको ३६८ पृष्ठ लामो यस कृतिलाई सन् १९७२ मा क्यानडाली संस्कृतज्ञ जीआर जोसियरले अंग्रेजीमा अनुवाद गरी प्रकाशित गरे । पुस्तकका एक सय अधिकरणलाई आठ अध्यायमा विभक्त गरिएको छ । पुस्तकले अत्यधिक चर्चासँगै विवाद जन्माएपछि यसको प्रामाणिकता अध्ययन गर्न सन् १९७४ मा भारत सरकारले भारतीय विज्ञान संस्थानलाई जिम्मेवारी दियो । मानवीय कल्पनाको क्षमताभन्दा टाढा विशाल शून्यमा रहेको सत्यलाई यथार्थमा समेट्ने परिश्रमले नै मानव सभ्यताको विमान उडिरहेछ । समय र समाजका सिमानालाई विस्तारित गरिदिने लहर यस्तै खोजीको गर्विलो इतिहास हो । 

कोसेली

केही प्रश्न केटाहरूलाई

- अमृता अनमोल

अफिसबाट फर्किंदै थिएँ । साथी निर्मलाले चिया पिउन निम्ता गरी । नजिकैको चियापसल पुग्दा एक जना अपरिचित अनुहार पनि थियो त्यहाँ । उसको बाल्यकालको साथी रे ! मलाई देख्नासाथ ऊ मुस्कुरायो । निकै परिचित जसरी हात चरप्प छोप्यो । र, मुसार्दै बिस्तारै छोड्यो । पहिलो भेटमै ? म छक्क परें । गोलो टेबलको वरिपरि बसेर चिया पिउँदासम्म उसका आँखा मबाट अन्त गएनन् । नशालु आँखा अनुहार, छाती र शरीरमा डुलाइरह्यो उसले । मानौं भोको बाघ सिकारको खोजीमा थियो । त्यस्तो सिकार म थिएँ । टेबुलमुनि उसका खुट्टा मेरै खुट्टा छुने गरी पसारिएका थिए । म तर्कंदै जान्थें । ऊ लहसिँदै जान्थ्यो । बिस्तारै दुवै हात टेबुलमाथि राखेर क्वारक्वारी हेर्न थाल्यो । मैले असुरक्षित– अपमानित महसुस गरें ।
मेरो स्त्रीत्व उर्लियो । जुरुक्क उठेर चड्याम्म गालामा बजार्न मन लाग्यो । तर, सकिनँ । साथीको मुख हेरेर सम्हालिएँ । चार सुर्कोमै चिया पिएँ अनि जुरुक्क उठें । साथीले बस्न भन्दै थिई । मचाहिँ ‘काम छ’ भनेर बाहिरिएँ । ऊ हेरेको हेर्‍यै भयो । घर आइनपुग्दै मोबाइलमा म्यासेज आयो । ‘तिमीलाई भेटेर सारै खुसी लाग्यो । निकै मायालु रहिछ्यौ,’ लेखिएको थियो, ‘फेरिफेरि भेटेर चिया खाऊँ है ।’ मैले हत्तपत्त उसको म्यासेज डिलिट गरें । त्यत्तिले मन मानेन । नम्बरै डिलिट गरें । त्यसपछि कम्तीमा उसका दुई दर्जनपटक फोन आए । ‘हामी साथी बनौं’ं भन्ने म्यासेज धेरै आए । मैले सबै म्यासेज र कल डिटेल लिएर प्रहरीमा जाने धम्की दिएँ । त्यसपछि ऊ साइड लाग्यो । तनाव सकियो ।
पहिलो भेटमै उसका तुच्छ हर्कतले केटा साथीप्रतिको मेरो विश्वास डगमगायो । घटनाले समग्र केटाप्रति प्रश्न खडा गरिदियो । के सबै केटा सधैं यौनका भोका हुन्छन् ? किन हरेक केटी साथीको मायालार्ई काम वासनामा मात्रै बदल्न खोज्छन् ?
अफिसमा काम गर्दै थिएँ । फेसबुक म्यासेन्जरमा यौटा म्यासेज आयो । ‘हाई ! अमृता सन्चै ?’ गाउँले दाइ रहेछन् । मैले ‘नमस्ते, सन्चै छु’ भनें । केही बेर गाउँघरका कुरा गरे । सोधेको प्रश्नको जवाफ दिएँ । त्यसपछिका दिनमा उनी खुल्न थाले । कहिले ‘तिमी कति राम्री छ्यौ’ भन्थे । कहिले ‘टीभीमा तिम्रो कस्तो राम्रो बोली सुनिन्छ’ भन्थे । कहिले ‘तिम्रो बोल्ड रिपोर्टिङले सबै प्रभावित हुन्छन्’ भन्थे । एक दिन त ‘तिमी कस्तो १५ वर्षेजस्तो देखिन्छ्यौ’, ‘तिमीलाई पाउने त कस्तो भाग्यमानी’, ‘सधैँ मस्त, सधैँ सन्तुष्ट’ पो भने । मैले जवाफ फर्काएँ, ‘आफ्नै चेलीमाथि कुदृष्टि लगाउने दाइका नाममा कलंक । तिमीलाई धिक्कार छ ।’ उनले ‘सरी’ लेख्दै थिए । मैले फेसबुक नै ब्लक गरिदिएँ ।
फेसबुक ब्लक गरे पनि मन शान्त भएन । टेबुलमाथिको बोतल तानेर घटघटी पानी पिएँ । बेचैन महसुस भयो । मनभित्रै प्रश्न मडारियो, ‘केटाको शरीरमा त्यस्तो के छ जसले हरेक प्रसंगलाई यौनसित तुलना गर्छ ?’
कात्तिक अन्तिम साता । सिमसिम पानी परिरहेको थियो । घरनजिकैको एसियन रिसोर्टमा वनसम्बन्धी कार्यक्रम थियो । म छाता ओढेर हतार–हतार जाँदै थिएँ । एक जना नजिकैबाट गुनगुनायो । ‘यौटै छाता ओढौं मायालु’ हतार थियो । त्यसैले म नसुनेजस्तो गरी होटलतर्फ लम्कँदै गएँ । उसले फेरि गायो, ‘ओढौं छाता ओढौं मायालु !’ म ठिंग अडिएँ । उसका आँखा मतिर थिए । रिस उम्ल्यो । त्यसैले कड्किएँ, ‘ए, के भनेको ? कसलाई भनेको ?’ ऊ ‘गीत गाएको’ भन्दै मुस्कुराउन पो थाल्यो । मैले झपारेँ । उसले ‘लाज मानीमानी माया गरेको’ भन्ने जवाफ फर्कायो । म ‘खोइ तेरो माया ?’ भन्दै झम्टिन जाँदै थिएँ । लुसुक्क अर्को होटलभित्र छिर्‍यो । ऊ त्यही होटलको कामदार रहेछ । होटल मालिकलाई ‘आइन्दा त्यसको मुख देखे कालो पोतिदिने’ चेतावनी दिँदै आफ्नो काममा लागें ।
त्यसयता ऊ होटलमा छ या छैन, थाहा छैन । तर, जब म त्यस ठाउँमा पुग्छु— मलाई त्यो मानिसको सम्झना आउँछ । पुरुषको सम्हालिनै नसकिने यौन उत्तेजना सम्झेर दया लाग्छ । र, त्यो स्वभावप्रति घृणा लाग्छ ।
अघिल्लो साता राजमार्ग चौराह हुँदै अफिस जाँदै थिएँ । ठ्याक्कै बर्दघाट बुटवल बस लाग्ने ठाउँतिर एक जना अधबैंसे मतिर फर्केर बोल्यो, ‘बैनी सुन्तला खाम् सुन्तला । सानासाना चट्ट मिलेका । तिम्रैजस्ता । बैनी सुन्तला खाम्,’ मैले बुझें । उसले स्तनसँग तुलना गरेर मलाई जिस्क्याइरहेको थियो । तर, पनि नसुने जसरी अगाडि बढ्दै थिएँ । ऊ झन्झन् जोडले बोल्न थाल्यो । मैले सहन सकिनँ । टक्क अडिएँ र सोधें, ‘के भनेको ?’ उसले ‘सुन्तला किन्न भनेको’ भन्ने जवाफ फर्कायो । ‘खोइ
सुन्तला ?’ उसले पारिपट्टि देखायो । मैले ‘ल हिँड्’ भनें । तर, ती सुन्तला उसका थिएनन् । मेरो रिसको पारो तात्यो । ‘तैँले मलाई जिस्क्याएको ?’ ऊ बहादुरी गरे जसरी मुसुक्क हाँस्यो । र, गिज्याउँदै भन्यो, ‘सुन्तला त सुन्तलै हुन् नि बैनी ! जसका भए नि ।’ मैलै सहनै सकिनँ, ‘तँलाई बदमास !
म तोरो जिस्क्याउने वस्तु हुँ ? तेरी आमा, दिदीबैनीलाई कसैले यस्तै भने के हुन्छ ? ल हिँड् प्रहरीमा ।’ ऊ केही नर्भस भयो ।
हत्तपत्त १०० मा डायल गरेँ । त्यो फोन अहिले नजिकको प्रहरीमा जाँदो रहेनछ । जिल्ला प्रहरीमा उठ्यो । ऊ डरले काँप्दै थियो । त्यतिबेलै अफिसबाट फोन आयो । सम्झेँ । आज स्टोरी सक्नु छ । औंला ठाडो पारें र उसलाई ‘आइन्दा कोही केटीमाथि आँखा मात्रै ठाडो गरे जेलमा कोच्छु’ भन्दै भुतभुताएर हिँडें । पछिसम्म मलाई थकथकी लागिरह्यो— त्यसलाई किन प्रहरीकोमा लगिनँ ?
बुटवलमै लैंगिक हिंसाविरुद्धको कार्यक्रम थियो । कार्यक्रममा एक जना नेता र म अतिथि थियौं । हामीसहित मञ्चमा ७ जना र हलमा करिब ६० जना थिए । आयोजकले उपस्थिति पुस्तिका ल्याए । मैले पुस्तिका दिदैं गर्दा ती अधिकृतले मेरो हात छोए । र, रोमाञ्चित हुँदै भने, ‘म्याडमको हात कति मुलायम ! मान्छे राम्री, अनुहार राम्रो, ज्यानै राम्रो । कस्तो म्याचिङ !’ यसो भन्दै गर्दा आफ्ना नशालु आँखा मेरो अनुहार हुँदै शरीरभरि दौडाए । लैंगिक हिंसाविरुद्धको कार्यक्रममै ममाथि हिंसा भयो । जुरुक्क उठेर एक चड्कन लगाउन मन लाग्यो । तर, सम्हालिएँ । ‘सर यो त लैंगिक हिंसा हो नि,’ यत्ति भनें, ‘यसरी कसैलाई नजिस्क्याउनु यौन दुर्व्यवहारको आरोपमा प्रहरी खोरमा जाकिनुपर्ला !’
उनी ङिच्च दाँत देखाएर अगाडि फर्के । जब मेरो कार्यपत्र सुरु भयो, मैले नामै नलिई ‘यसरी पनि हिंसा हुन्छ’ उनको हर्कत सुनाएँ । यस्तोमा के गर्ने भनेर सहभागीलाई सोधें । हलबाट ‘प्रहरी खोरमा जाक्ने’ भन्ने जवाफ आयो । पुलुक्क उनको मुखमा हेरें । उनी उधोमुन्टो लगाएर बसिरहेका थिए ।
अन्त्यमा, केही प्रश्न केटालाई । तिमीले गर्ने व्यवहार तिम्रा आमा, पत्नी र दिदीबैनीमाथि भए तिमी के ठान्छौ ? तिम्रा पत्नी, जसले तिम्रैलागि जीवन अर्पेका छन्, तिनले तिमीले जस्तो व्यवहार अर्को केटासित गरे तिमीलाई कस्तो महसुस हुन्छ ? तिमी सहन्छौ ? अहँ सहन्नौं । आफूले नसहने व्यवहार अरूलाई किन गर्ने ? पतिपत्नीबीच सीमित हुनुपर्ने यौन उत्तेजना अरूलाई किन देखाउने ? हरेक सम्बन्धलाई यौनसित किन जोड्ने ? केटाको यो उसको कमजोरी हो । साहस होइन, दुस्साहस हो । रोमान्स होइन हिंसा हो ।
महिलामाथि हुने हिंसा महिलाको मात्रै समस्या होइन । समाजकै समस्या हो । तसर्थ हिंसाविरुद्ध पुरुष पनि प्रतिबद्ध हुनुपर्छ । हरेक पुरुषले महिलाप्रतिको उच्छृंखलता र आवेग रोक्नुपर्छ ।

Page 24
कोसेली

खोल्देऊ

- सआदत हसन मन्टो

अमृतसरबाट दोस्रो प्रहर दुई बजे स्पेसल रेल हिँड्यो । आठ घण्टापछि मुगलपुरा पुग्यो । बाटोमै कैयन् व्यक्ति मारिए । कैयन् घाइते भए । केही व्यक्ति यताउता भड्किए ।
बिहान दस बजे क्याम्पको चिसो भुइँमा सराजुद्दिनले आँखा खोल्दा चारैतिर लोग्नेमान्छे, आइमाई र बालबच्चाको उर्लंदो समुद्र देख्यो । उसको सोच्ने र बुझ्ने बाँकी थोरै क्षमताले पनि धोका दियो । ऊ अबेरसम्म धूमिल आकाशतिर एकटक लगाएर हेरिरहृयो ।
क्याम्पमा कोलाहाल थियो, तर कान बन्द भएझैँ बुढो सराजुद्दिन केही सुनिरहेको थिएन । कसैले उसलाई हेरेको भए गहिरो निद्रामै रहेको अनुमान लगाउन सक्थ्यो । तर, होइन । उसको होस गायब थियो । उसको सारा अस्तित्व कतै शून्यमा अड्किएको थियो ।
धूमिल आकाशतिर कुनै उद्देश्यबिना हेर्दा उसका आँखा घामसँग ठोकिए । घामको तेजिलो प्रकाश अस्तित्वको नसा नसामा फैलियो । ऊ उठ्यो । दिमागमा कैयन् दृश्य ओहोरदोहोर गर्न थाले । आगलागी, भागदौड, स्टेसन, गोलीको सर्सराहट, रात र सकिना । सराजुद्दिन जुरुक्क उठ्यो र पागलजस्तै चारैतिर फैलिएको मानव समुद्र नियाल्न थाल्यो ।
पूरा तीन घन्टा उसले सकिना, सकिना भनेर चिच्याउँदै क्याम्पलाई चक्कर लगायो । तर उसकी एक्ली तरुनी छोरीको पत्ता लागेन । चारैतिर मानौँ धाँदली मच्चिएको थियो । कोही आफ्नो बच्चा, कोही आमा, कोही पत्नी र कोही छोरीलाई खोजिरहेका थिए । सराजुद्दिन पराजित मुद्रामा एक ठाउँमा बस्यो । दिमागमा जोड लगाएर सकिना आफूबाट कहिले र कहाँ छुटेकी थिई भनी सम्झन खोज्यो । सोच्दा सोच्दै उसको दिमाग सकिनाकी आमाको लासको दृश्यमा अड्किन्थ्यो जसका आन्द्राभुँडी बाहिर निस्केको थियो । त्यसअगाडि ऊ केही सोच्न सक्दैनथ्यो ।
सकिनाकी आमा मरिसकेकी थिई । सराजुद्दिनकै अगाडि उसले प्राण त्यागेकी थिई । तर, सकिना कहाँ छे ? प्राण छाड्ने बेला पनि उसले सराजुद्दिनलाई भनेकी थिई, ‘मलाई छाडिदेऊ । बरु सकिनालाई लिएर यहाँबाट जतिसक्दो चाँडै भाग ।’
सकिना बाबुसँगै थिई । दुवै जना नांगै खुट्टा दौडिरहेका थिए । सकिनाको सल खसेको थियो । त्यो टिप्न ऊ एकछिन रोकिन खोजेको थियो । सकिनाले चिच्याउँदै भनेकी थिई, ‘अब्बा, छाडिदिनुस् ।’
तर उसले सल टिपेको थियो ।
यस्तो सोच्दै उसले आफ्नो कोटको उक्सेको खल्तीतिर हेर्‍यो । अनि त्यहाँबाट एउटा कपडा निकाल्यो । त्यो सकिनाको सल थियो । कठै, उसकी प्यारी छोरी कहाँ थिई ?
सराजुद्दिनले थकित दिमागमा जोड लगाएर सम्झन खोज्यो । तर कुनै नतिजामा पुग्न सकेन । के उसले सकिनालाई आफूसँगै स्टेसनसम्म ल्याएको थियो ? के ऊ पनि सँगै गाडीमा बसेकी थिई ? बीच बाटोमा गाडी रोकिँदा हुल्याहाहरू भित्र पसेका थिए । के ऊ बेहोस भएको थियो र त्यसै बेला तिनले सकिनालाई उठाएर लगेका थिए ?
सराजुद्दिनको दिमागमा सवालै सवाल थियो । जबाफ एउटै थिएन । उसलाई सहानुभूति चाहिएको थियो । चारैतिर जति पनि मानिसहरू भौँतारिएका थिए, सबको हालत उस्तै थियो । सराजुद्दिन रुन चाहन्थ्यो । रुन पनि उसका आँखा उसलाई सहायता गरिरहेका थिएनन् । हरे, आँसु कहाँ गायब भएको थियो, कुन्नि !
छैटौँ दिन होस सामान्य स्थितिमा फर्केपछि सराजुद्दिनको भेट ती व्यक्तिसँग भयो, जो उसलाई मदत गर्न तयार थिए । आठजना स्वयंसेवी नवयुवा थिए । तिनका हातमा लाठी र बन्दुक थिए । सराजुद्दिनले तिनलाई अनेक आशीर्वाद दियो र सकिनाको हुलिया बताइदियो, ‘गोरी.. र असाध्यै राम्री छे । मेरो होइन, उसकी आमाको गोता गएकी छ । उमेर करिब सत्र वर्ष । आँखा ठूला ठूला । कपाल गाढा कालो । दाहिने गालामा ठूलो कोठी । मेरी एक्ली छोरी हो । खोजेर ल्याइदेऊ बाबु हो, ईश्वरले तिमीहरूको भलो गर्छन् ।’
स्वयंसेवी युवकले बुढा सराजुद्दिनलाई उसकी छोरी जिउँदै भए केही दिनमै फिर्ता ल्याइदिने दरो आश्वासन दिए । आठै जनाले सक्दो कोसिस गरे । ज्यान हत्केलामा राखेर उनीहरू अमृतसर गए । कैयन् पुरुष र बच्चालाई निकालेर सुरक्षित स्थानमा पुर्‍याइदिए । दस दिन बित्यो । सकिनालाई कतै भेटेनन् ।
एक दिन यस्तै सेवाको काममा लरीमा अमृतसर जाँदै थिए । छरहटानजिकै सडकमा एउटी केटी देखिई । लरीको आवाज सुनेर ऊ तर्सी र दौडन थाली । स्वयंसेवकहरूले मोटर रोके । सबै जना उसलाई पिछा गर्न थाले । खेतमा उनीहरूले केटीलाई पक्रिए । उसको दाहिने गालामा ठूलो कोठी थियो । एउटा केटोले भन्यो, ‘डराउनु पर्दैन । तिम्रो नाम सकिना हो ?’
डरले केटीको अनुहारको रङ पहेलो भयो । उसले जबाफ दिइनँ । केटाहरूले भरलाग्दो आश्वासन दिएपछि ऊ ढुक्क भई । उसले आफू सराजुद्दिनकी छोरी सकिना भएको स्वीकार गरी ।
हरेक युवकले केटीको मन बहलाउन सक्दो उपाय गरे । उसलाई खाना खुवाए, दूध पिलाए र लरी चढाए । एउटाले आफ्नो कोट फुकालेर दियो किनभने सल नहुँदा उसलाई एकदमै अप्ठेरो भइरहेको थियो । बारम्बार ऊ हातले छाती ढाक्ने प्रयास गरिरहेकी थिई ।
कैयन् दिन बिते । सराजुद्दिनले सकिनाको कुनै खबर पाएन । ऊ दिनभरि विभिन्न क्याम्प र कार्यालयको चक्कर लगाउँथ्यो । तैपनि कतैबाट उसकी छोरीको पत्तो लागेन । राति ऊ ढिलोसम्म ती स्वयंसेवी युवकको सफलताका लागि प्रार्थना गर्थ्यो, जसले उसलाई सकिना जिउँदो रहेकी भए केही दिनमै फिर्ता ल्याइदिने आश्वासन दिएका थिए ।
एक दिन उसले क्याम्पमा ती नवयुवा स्वयंसेवीलाई देख्यो । उनीहरू लरीमै थिए । सराजुद्दिन दौडँदै तिनीहरूको नजिक पुग्यो । लरी हिँड्नै लागेको थियो । उसले सोध्यो, ‘बाबु हो, मेरी छोरीको पत्ता लाग्यो कि ?’
सबैले एउटै स्वरमा भने, ‘पत्ता लाग्छ, पत्ता लाग्छ । धन्ना नमान्नुस् बुढा बा !’ यति भन्दै तिनले लरी चलाए । सराजुद्दिनले एक चोटि फेरि ती नवयुवाको सफलताका लागि प्रार्थना गर्‍यो । उसको मन अलिकति हलुका भयो ।
साँझपख सराजुद्दिन बसेको क्याम्पमा केही गडबड भयो । चार जना कसैलाई बोकेर आइरहेका थिए । सोधुपुछ गर्दा थाहा भयो, एउटी केटी रेलको लिक नजिकै बेहोस अवस्थामा भेटिएकी थिई । मानिसहरूले उसलाई बोकेर ल्याए । सराजुद्दिन उनीहरूको पछाडि लाग्यो । तिनले केटीलाई अस्पताल पुर्‍याइदिए र फर्किए ।
केही बेर सराजुद्दिन अस्पतालबाहिर बिजुलीको काठे खम्बामा आड लागेर उभियो । अनि बिस्तारै भित्र छिर्‍यो । क्याबिनमा कोही थिएन । एउटा स्ट्रेचरमा लास पसारिएको थियो । सराजुद्दिन हलुका पाइला चाल्दै त्यसतर्फ गयो । कोठामा एक्कासि बत्ती बल्यो । सराजुद्दिनले लासको चम्किलो गालामाथि कालो कोठी देख्यो । एक्कासि ऊ चिच्यायो, ‘सकिना !’
क्याबिनमा बत्ती बाल्ने डाक्टरले सराजुद्दिनलाई हकार्‍यो, ‘के हो ?’
सराजुद्दिनको घाँटीबाट मुस्किलले यति निस्कियो, ‘डाक्टर साप, म यो केटीको बाबु हुँ ।’
डाक्टरले स्ट्रेचरमा पसारिएको लासको नाडी छाम्यो । अनि झ्यालतिर संकेत गर्दै सराजुद्दिनलाई भन्यो, ‘खोल्देऊ !’
एक्कासि सकिनाको लासमा ज्यान फर्किएझैँ भयो । प्राणविहीन हातले उसले बिस्तारै आफ्नो इँजारको सुर्कनी खोली र कम्मरबाट सलवार सरक्क तल सारिदिई ।
‘मेरी छोरी जिउँदै छे, मेरी छोरी मरेकी छैन’, असीम खुसीले चिच्याउँदै बुढो सराजुद्दिन चिच्यायो ।
डाक्टर शिरदेखि पैतालासम्मै पसिनाले लछप्पै भिज्यो ।

कोसेली

‘मेरो देश कुन हो ?’

टिप्पणी
- अभय श्रेष्ठ

यो ‘खोल्देऊ’ कथा पढ्दा संवेदनशील जो कोही पाठकलाई आँसु थाम्न मुस्किल पर्छ । छ्यांगै नखोलिएकोले यस कथाको अन्त्यको व्याख्या पाठकपिच्छे अलग अलग हुन सक्छ । शब्दमा वर्णन नगरी त्यो दृश्यले सकिनाको जिन्दगीमा के विपत् आइलागेको थियो भन्नेचाहिँ प्रस्ट पार्छ । त्यसकै लागि अश्लीलताको आरोपमा कथाकारले अदालतमा बयान दिनुपर्‍यो । तर, कथा अश्लील थिएन, बरु विपत्मा परेका युवतीको अस्मिता हरण गर्ने अश्लील समाजप्रति तिखो व्यंग्य थियो । हो, कथाकारले एक ठाउँमा केटी बेहोस भएर रेलको लिकनजिक बेहोस अवस्थामा भेटिएकी उल्लेख गरेका छन् । स्ट्रेचरमा रहेको उसको शरीरलाई चाहिँ लास भनेका छन् । यसले प्रश्न उठ्छ, सकिना जिउँदै थिई कि मृत ? मृत हो भने डाक्टरले उसको बाबुलाई झ्यालतिर संकेत गर्दै ‘खोल्देऊ’ भन्दा उसले कसरी सलवार खोलिदिई ? ज्युँदै थिई भने नाडी छामेर डाक्टरले किन ज्युँदो भएको संकेत गरेन ? प्रश्नजस्तो उठे पनि अन्तिम दृश्यले बलात्कृत युवतीको अन्तरमा लुकेको असीम भयलाई छताछुल्ल पार्छ ।
सआदत हसन मन्टो (१९१२ मे ११– १९५५ जनवरी १८) मुसलमान समुदायका त्यस्ता महान् कथाकार हुन्, जसका लागि मुसलमान वा हिन्दु होइन, ‘मान्छेले मानवीय उच्च गरिमासाथ बाँच्न पाउने हक’ सबैभन्दा महत्त्वपूर्ण थियो । कथामार्फत सदैव उनले यसैको पक्षधरता देखाए । खासगरी भारत विभाजनपछि त्यहाँका बासिन्दाले भोग्नुपरेको, विपत्ति, हिंसा र भयको मनोविज्ञानलाई उनले जीवन्त चित्रण गरे । परम्परावादी समाजले भारत स्वतन्त्रताअघि उनका तीन कथा ‘धुवाँ,’ ‘बु’ र ‘काली सलवार’ तथा भारत विभाजनपछि पाकिस्तानमा अन्य तीन कथा ‘ठन्डा गोस्त’, ‘खोल दो’ र ‘उपर निचे दरमियान’ लाई अश्लीलता प्रयोग गरेको आरोपमा मुद्दा लगायो । उनले अदालतमा प्रस्टीकरण दिनुपर्‍यो । एकपल्ट त जरिवानै तिर्नुपर्‍यो । अश्लीलताको आरोपमाथि उनको प्रस्टीकरण सधैँ एउटै हुन्थ्यो, ‘लेखकले तब मात्र कलम चलाउँछ जब उसको संवेदना घाइते हुन्छ । म अश्लील लेखक होइन, कथा लेखक हुँ ।’
समाजले कहिल्यै महत्त्व नदिएका दलित, उत्पीडित र सीमान्तकृत समुदायको दुःख, पीडा र बाध्यतालाई मन्टोका कथाले इमानदारीपूर्वक प्रकट गर्छन् । उनी तिनको मनस्थितिका अनुद्घाटित सत्य उद्घाटन गर्छन् जहाँ ठूला मनोवैज्ञानिक पनि पुग्न सकेका हुँदैनन् । ती खासमा मान्छेलाई बाँच्ने कला सिकाउने कथा हुन् । उनका अधिकांश मुख्य पात्र यातना भोगेका र विपत्मा परेका मान्छे हुन् । भौतिक स्थिति कमजोर भए पनि ती आफ्ना मानवीय आकांक्षाका बलमा कट्टरपन्थविरुद्ध अन्तिम क्षणसम्म लडिरहन्छन् ।
पन्जाबको लुधियानामा जन्मेका मन्टो सन् १९३६ मा एउटा फिल्मी पत्रिका सम्पादन गर्न बम्बई पुगेका थिए । त्यसैबेला उनले इम्पेरियल फिल्म कम्पनीका लागि पटकथा र संवाद लेख्न थाले । त्यो समय मन्टोका जिन्दगीका सबैभन्दा सुनौला दिनहरू थिए । त्यसै बेला उनका सबैजसो कथा र निबन्धका किताबहरू छापिए । सन् १९४७ अगस्ट १४, रातको १२ बजे भारत विभाजन भयो । पूरै देशमा भागदौड मच्चियो । जताततै हिन्दु र मुसलमानबीच काटामार चल्यो । उनका पत्नी र बच्चाहरू परिवारका अन्य सदस्यसँगै पाकिस्तान गए । कुनै पनि हालतमा बम्बई
छाड्दिनँ भनी मन्टो जिद्दी कसेर बसिरहे । त्यसताक उनी बम्बे टाकिजमा काम गर्थे । कट्टरपन्थी हिन्दु समुदायले बम्बे टाकिजको मालिकलाई ‘सबै मुसलमान कर्मचारीलाई निकाल्नू, अन्यथा सारा सम्पत्ति नष्ट भएको आफ्नै आँखाले हेर्न तयार हुनू’ भनी धम्की दिए । मन्टोमाथि यो आदेशको असर अत्यन्त घातक भयो । उनी भत्किएको सपना र घाइते मन लिएर लाहोर गए । बम्बईमा आखिरी दिनहरूको सम्झना गर्दै उनले लेखेका छन्, ‘भारत र पाकिस्तानमध्ये मेरो देश कुन हो ? यो तय गर्नु मेरा लागि असम्भव छ । बडो निर्दयतापूर्वक जसरी रगतको खोलो बगाइँदै छ, त्यसका लागि को जिम्मेवार छ ?’ त्यही पीडाले उनी अत्यधिक रक्सी पिउन थाले । अहमद नदिम कासमीको शब्दमा कहानीका यी पागल जादुगरलाई अन्ततः कलेजोको क्यान्सर भयो र चेखब वा मोपासाँजस्तै ४३ वर्षको अल्पायुमा उनको मृत्यु भयो । जीवन जति छोटो भए पनि ‘टोबा टेकसिंह’, ‘ठन्डा गोस्त’, ‘दो गड्ढे’, ‘गुरमुखसिंह की वसियत’, ‘खोल दो’, ‘नंगी आवाज’, ‘सुरमा’, ‘टिटवालका कुत्ता’ लगायत आफ्ना कालजयी कथामार्फत उनी अमर छन् ।