You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

महाराजको आवरणमा ठगी

- जनकराज सापकोटा,रमेशकुमार पौडेल,घनश्याम गौतम
भरतपुर विमानस्थलमा शुक्रबार उत्रेका उपराष्ट्रपति नन्दबहादुर पुन र उनको स्वागतार्थ आएका बालयोगेश्वर महाराजा भनिने विजय भण्डारी । भण्डारीको नेतृत्वमा नारायणी नदी किनारमा शनिबारदेखि हुने कोटीहोम यज्ञमा प्रमुख अतिथि हुन उपराष्ट्रपति चितवन आइपुगेका हुन् । तस्बिर ः रमेशकुमार पौडेल/कान्तिपुर

(काठमाडौं/चितवन/गुल्मी) - उपराष्ट्र्रपति नन्दबहादुर पुन शुक्रबार करिब १२ बजे भरतपुर विमानस्थलमा उत्रिए । त्यहाँ उनलाई खादा र फूलमालासहित स्वागत गर्न अग्रपंक्तिमा थिए, आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्रधारी– विजय भण्डारी । उपराष्ट्रपति शनिबारदेखि नारायणी नदी किनारमा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’को उद्घाटन गर्न चितवन पुगेका हुन् ।
आफूलाई ‘बालयोगेश्वर महाराज’ बताउने भण्डारीले धार्मिक आवरणमा आफ्नो ठगी र जालझेलको विगत लुकाउँदै आएको कान्तिपुरले फेला पारेको छ । कान्तिपुरकै सहप्रकाशन नेपाल सप्ताहिकले विजयको ठगी धन्दाबारे ‘महाठग महाराज’ शीर्षकमा २४ भदौ २०६९ मा खोज समाचार प्रकाशन गरेको थियो । त्यसताका उनले आफूलाई सार्वजनिक वृत्तमा श्री विष्णु प्रपन्नाचार्यजी महाराजको नाममा चिनाउँदै आएका थिए ।
२०६८ भदौ दोस्रो साता नवलपरासी घर भई बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका विद्यार्थी केशव भुसाल, गोकुल खनाल, बनारसस्थित मंगलागौरी संस्कृत महाविद्यालयमा पढ्ने गोविन्द आचार्यलगायत कैयन् उनलाई खोज्दै काठमाडौं आएका थिए । त्यतिबेला नेपालका चर्चित गुरु भन्दै बनारस पुगेर भण्डारीले आफूले अमेरिकामा हुने वर्ल्ड गीता म्याराथन, श्रीमद्भागवत, श्रीराम चरितमानस, गीता प्रवचन लगायत कार्यक्रममा नेपाल र भारतबाट १०८ जनालाई प्रवचन गर्न लैजान लागेको भन्दै करिब एक सय जना विद्यार्थीबाट जनही एक लाख रुपैयाँ उठाएर ठगी गरेका थिए ।
उनले अमेरिका जान आयोजक संस्थाको सदस्यतासहित कुल खर्च ५ लाख ५० हजार लाग्ने र सुरुमा पेस्कीबापत एक लाख रुपैयाँ दिनुपर्ने सर्त राखेर करोड रुपैयाँभन्दा धेरै उठाएका थिए । उनले पेस्की लिएकालाई विश्वप्रसिद्ध धार्मिक र सामाजिक संस्था वर्ल्ड वेलफेयर भागवत ट्रस्ट, इन्टरनेसनल एजुकेसनल कन्फरेन्स, इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सिएसनेस (इस्कन) लगायत संस्थाहरू कार्यक्रमको आयोजक रहेको बताएका थिए । जबकि त्यतिबेलै इस्कनको नेपालस्थित कार्यालयले अमेरिकामा त्यस्तो कार्यक्रम नरहेको र कथित महाराजसँग संस्थाको कुनै सम्बन्ध नरहेको भन्दै आधिकारिक प्रतिक्रिया दिएको थियो ।
अमेरिकामा हुने धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै सयौं व्यक्तिसँग रकम उठाएपछि विवादमा तानिएका भण्डारी पीडितले खोजी गर्न थालेपछि सम्पर्कबाहिर रहँदै आएका थिए । केही पीडितलाई धम्क्याएर, केहीलाई प्रलोभनमा पारेर र केहीलाई आधा रकम दिएर उनले ठगी धन्दाको केही हिसाब मिलाएका थिए । त्यतिबेला कान्तिपुरको सम्पर्कमा आएकामध्ये उनीबाट ठगिनेहरूमा कलेजका शिक्षक, ज्योतिष परिषद् नेपालका पदाधिकारी, होटल व्यवसायीदेखि योगगुरुसम्म थिए । सोही प्रकरणमा ठगिएका तीन पीडितले अमेरिका लैजाने भन्दै चार लाख ठगेको भनेर वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि उनीसहित उनका तीनर सहयोगी अनुसन्धानमा तानिएका थिए । बुटवल उपमहानगरपालिका बस्दै आएका रमेश खनाल, काठमाडौंका प्रकाश ढुंगाना र कीर्तिपुरका प्रमोदकृष्ण अधिकारीले उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा अभियोगपत्र दायर गरेका थिए ।
धार्मिक आवरणमा ठगी धन्दा गर्दै आएका भण्डारीबारे नेपाल साप्ताहिकमा प्रकाशित भएलगत्तै २०६९ कात्तिकमा जिल्ला प्रहरी कार्यालय गुल्मीले दसैं मनाएर घरबाट फर्कने क्रममा उनलाई पक्राउ गरेको थियो ।
उनीविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखा र वैदेशिक रोजगार विभागमा छुट्टाछुट्टै उजुरी परेको थियो । पीडितलाई रकम नभएको चेक दिएर झुक्याएपछि बुटवल घर भएका गोकुल खनालले उनीविरुद्ध चेक बाउन्सको मुद्दा पनि दर्ता गराएका थिए ।
२०७० माघ दोस्रो साता न्यायाधिकरणले तीन लाख धरौटीमा उनलाई छोड्न आदेश दिएको थियो । लगत्तै उनले सार्वजनिक वृत्तमा आफ्नो नाम बदलेर ‘स्वामी बालयोगेश्वर महाराज’ प्रयोग गर्न थालेका थिए । न्यायाधिकरण कार्यालयले भण्डारीविरुद्धको आदेश कार्यान्वयन गर्नका निम्ति जिल्ला प्रहरी कार्यालय गुल्मीलाई पत्र पनि लेखेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजेन्द्र सिंह खड्काले न्यायाधिकरणको कार्यालयबाट पत्र आएका बेला महाराज भनिने भण्डारी रिडीमा रुरु महायज्ञ लगाइरहेका थिए । एसपी खड्काले भने, ‘त्यतिबेला महायज्ञ बिथोलिएला भनेर हामीले तत्काल पक्राउ गरेनौं ।’ उनका अनुसार पछि बुझ्दा न्यायाधिकरणको आदेशविरुद्ध भण्डारी सर्वोच्च अदालत गइसकेको र सर्वोच्चको तारेखबाट उनी छुटेका रहेछन् भन्ने बुझियो । ‘त्यतिबेला जिल्ला अदालतकै न्यायाधीशले पनि यसबारे बुझ्नुभएको थियो,’ उनले भने । त्यतिबेला भण्डारीबाट ठगिएका पीडितहरू अझै छन् । भण्डारीले अमेरिका लगिदिने भन्दै योग प्रशिक्षक चिन्तामणि गौतमसँग पनि ५० हजार उछिट्याएका थिए । गौतमसहित नौ जनाले समूहगत रूपमा अमेरिका जाने भन्दै लिखित कागज गरेरै ‘महाराज’लाई नौ लाख रुपैयाँ बुझाएका थिए । कान्तिपुरसँगको कुराकानीमा गौतमले धर्मको आवरणमा आफूलाई ठगिएको र फसेको रकम उठाउन केही दौडधुप गरे पनि पैसा नपाएको बताए । उनका फुपूका छोरा महाधन पौडेलले पनि ५० हजार नै फसाएका थिए । उनले भने, ‘कति दौडधुप गर्ने भनेर माया मारेजस्तै भयो ।’
ठगीको पुरानो परिचय बदल्नकै लागि उनले पछिल्ला वर्षमा आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउँदै आएको देखिन्छ । कान्तिपुरसँगको टेलिफोन कुराकानीमा ‘महाराज’ले आफ्नो पुरानो नाम विष्णु प्रपन्नाचार्य नै भए पनि पछि आफूले दीक्षा पाएपछि नाम बदलेको तर्क गरे । उनले भने, ‘श्रीमद्भागवत कथा वाचनमा लागेर दीक्षित भएपछि मेरो पद थपिएको हो ।’ नामको अघि यस्तो पदवी कसले दियो र किन उनलाई नाम फेर्नुपर्‍यो भन्नेबारे भने उनले प्रस्ट बताएनन् ।
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव गोविन्द टन्डनले धर्मको आवरण भिरेर आफूले आफैंलाई पदवी दिने परम्परा शास्त्रसम्मत नरहेको बताए । यस्तो अभ्यासले असली साधु र सन्तका नाममा वितृष्णा फैलाउने काम भएको उनले बताए । ‘स्वार्थरहित कर्मभन्दा बाहिर गएर धर्मका नाममा अनेकन गर्नाले कालान्तरमा धर्म र संस्कृतिप्रति नै आम मानिसमा वितृष्णा फैलाउँछ,’ टन्डनले भने ।
ठगीको लहरो अमेरिका लैजाने भन्दै सयौंसँग अवैध रूपमा रकम उठाएपछि उनले २०६९ पछि कलंकीस्थित आश्रममा नियमित बस्न छोडेका थिए । २०६९ चैतमा उक्त आश्रममा पुग्दा उनले तत्कालीन राष्ट्रपति रामवरण यादवदेखि कांग्रेस सभापति सुशील कोइरालासँग बसेको तस्बिर टाँगेका थिए । राजनीतिक दलका उच्च नेताहरूसँगको तस्बिर भित्ताभरि टाँग्ने र त्यसैका आधारमा आफ्नो कनेक्सन देखाएर उनले ठगी धन्दा चलाएको देखिन्थ्यो ।
उनले एक समय आफूलाई नवलपरासीको कावासोतीस्थित राधाकृष्ण धामको पिठाधीशसमेत बताउँथे । स्थानीय नर्मदेश्वर शिवालय मन्दिरको व्यवस्थापन समितिलाई फकाएर आफूलाई पिठाधीश घोषणा गरेका थिए । तत्कालीन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ बस्ताकोटीले कान्तिपुरसँगको कुराकानीमा महाराजले अमेरिका लैजाने भन्दै ठगेको सूचना आएपछि आफूहरूले व्यवस्थापन समितिको बैठक डाकेर उनलाई पिठाधीशबाट निष्कासन गरेको बताए । उनले भने, ‘महाराजले आफूबारे बताएका धेरै कुरा फर्जी देखिए अनि हामीले बैठक गरेर निकाल्ने निर्णय गर्‍यौं ।’
पिठाधीशबाट निकालिए पनि भण्डारीले विभिन्न ठाउँमा यज्ञ, होम र धान्याचल कार्यक्रम सञ्चालन गर्दै आएका छन् । धार्मिक कार्यक्रम सञ्चालन गर्ने र दानबाट संकलित रकम प्रतिशतका आधारमा लिने भएका कारण पनि उनी बारम्बार विवादमा तानिएको देखिन्छ । गुल्मीको गुल्मी दरबार गाउँपालिका–४ रुन्खादह माविका पूर्वप्रधानाध्यापक ठाकुरप्रसाद शर्माले ‘महाराज महा कहलिएको ठग भएको’ बताए । २०७५ चैत २३–३० सम्म विद्यालयले आयोजना गरेको महायज्ञमा उठेको रकम एक्लैले कुम्ल्याएर हिँडेको भन्दै उनले महाराजका नाममा ठगी भइरहेको दाबी गरे । ‘सुरुमा ५० लाख मात्र नगद उठे आफूले कुनै रकम नलिने बताए । तर यज्ञ सकिएपछि जम्मा उठेको ५० लाखमध्ये २ लाख मात्र विद्यालयलाई दिएर ४८ लाख नगदै लिएर गए ।’ धर्म र यज्ञका नाममा ठगी भएको बताउँदै उनले महायज्ञमा बाँकी कबोल भएको १ करोड २८ लाख रकममध्ये धेरै रकम अहिलेसम्म पनि उठ्न नसकेको बताए ।
स्वघोषित महाराज भण्डारीको छवि गाउँलेमाझ पनि राम्रो छैन । गुल्मी नागरिक समाजका अध्यक्ष पदम पाण्डेले उनले विभिन्न विद्यालयमा महायज्ञ गर्दै हिँड्ने र उठेको नगद रकम विभिन्न बहानामा जबरजस्ती असुल्ने गरेको बताए । भने, ‘उनको ठगीको कुरा उठेपछि रिडीमा सञ्चालन गरेको धार्मिक महायज्ञ पनि घाटामा गएको थियो ।’
चितवन कनेक्सन π
२०७५ पुसमा चितवनको पार्वतीपुरस्थित भानु माविले आयोजना गरेको धनधान्याचल महायज्ञमा ‘महाराज’ मुख्य बाचक थिए । त्यतिबेला उनी हेलिकप्टर चढेर कार्यक्रम आयोजना स्थल पुगेका थिए । विद्यालय व्यवस्थपन समितिका अध्यक्ष दिलीप न्यौपानेका अनुसार ‘महाराज’ ले धान्याचल लगाउने प्रस्ताव ल्याएपछि विद्यालयको आर्थिक अवस्था सुधार हुने ठानेर स्विकारेको बताए । उनले त्यतिबेला ‘महाराज’ सहित ५० जनाको टोली कार्यक्रमभर बसेको उल्लेख गर्दै भने, ‘हामीले २५ लाख रुपैयाँ दक्षिणा दिएका थियौं ।’
विद्यालयका निम्ति रकम उठाएको भन्दै तिनै महाराजलाई अहिले महायज्ञको मुख्य वक्ता बनाइएको छ । चितवनमै पहिलो आयुर्वेदिक शिक्षालय खोल्ने र क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजक समितिका प्रवक्तासमेत रहेका न्यौपानेले बताए । उनका अनुसार ३० दिनसम्म चल्ने यो धार्मिक अनुष्ठान सफल पार्न २१ सय जनाको मूल समारोह समिति, १२१ जनाको पूर्ण कमिटी, ३३ जनाको कार्यसम्पादन समिति र ११ जनाको सचिवालय छ । आयोजक समितिले एक महिने यज्ञबाट २५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ । प्रवक्ता न्यौपानेले यज्ञको उद्घाटनमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई ल्याउने काममा ‘महाराज’ समेत संलग्न भएको बताए । उनले भने, ‘महाराजको पनि उपराष्ट्रपतिसँग चिनजानी भएकाले कार्यक्रम उद्घाटनमा ल्याउन सफल भइयो ।’ यसअघि जस्तै यो महायज्ञबाट उठेको रकममध्ये कति प्रतिशत ‘महाराज’लाई दिने भन्ने चाहिँ तय भइनसकेको उनले बताए ।
आयोजक समितिका अनुसार महायज्ञमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापासहितका नेतासमेत विभिन्न दिनमा उपस्थित हुने तय भएको छ । ‘काठमाडौं पुगेरै सबै नेतालाई निम्ता दिएका छौं, उहाँहरू आउने पक्का भइसकेको छ,’ उनले भने ।
को हुन् ॅमहाराजॅ ?
गुल्मी धुर्कोटबस्तु घर भएका भण्डारी जनयुद्धकालमा तत्कालीन माओवादीको भ्रातृसंगठन अखिल क्रान्तिकारीमा लागेका थिए । स्थानीयका अनुसार उनका बाबु मनिराम पनि त्यतिबेला माओवादीको एरिया कमिटी सचिव बनेका थिए ।
माओवादीमा आबद्ध भएको भन्दै प्रहरीले खोजी सूचीमा राखेपछि भण्डारीले स्थानीय हिमालय उच्च माविको आठ कक्षा पास गर्नेबित्तिकै आफन्तको सहयोगमा काठमाडौं आएर थानकोटस्थित अरबिन्दो योगा मन्दिर आश्रममा बसेर आश्रमकै सहयोगमा माउन्ट भ्याली स्कुलबाट एसएलसी पास गरेका थिए । उनीसँगै आश्रममा बसेका विद्यार्थीहरूका अनुसार आश्रममा रहेका बेला गाडीको टायर चोरेको आरोप प्रमाणित भएपछि उनी स्कुलबाट निकालिएका थिए । आश्रमबाट निकालिएकै समयमा उनका बाबु मनिराम पनि आर्थिक अपचलन आरोपमा पार्टीबाट निष्कासनमा परेका थिए ।
‘५/७ वर्षअघि संस्थासँग अनुमति नलिई संस्थाका नाममा भिजिटिङ कार्ड छापेर विदेश लैजान्छु भन्दै रकम असुलेको थाहा पाएपछि उनलाई मौखिक खबरदारी गरिएको थियो,’ आश्रमका प्रमुख रामचन्द्र दास भनिने चन्द्रमणि भुसालले भने, ‘ठगी गरेको थाहा पाएपछि उनलाई आश्रममा कहिल्यै छिर्न नपाउने गरी निषेध गर्ने निर्णय गर्‍यौं ।’
गेरुवस्त्र धारण गरेलगत्तै विजयले २०६८ वैशाखमा आफैंले पाँच लाख खर्चेर कलंकीमा भागवत पुराण लगाएका थिए । त्यसपछिका वर्षमा उनले विभिन्न स्थानमा प्रतिशत नै तोकर महायज्ञ र धान्यान्चल गर्दै आएका छन् ।

मुख्य पृष्ठ

नेपालमा पनि नोवल कोरोना संक्रमित

- अतुल मिश्र

(काठमाडौं) - ‘नोवल कोरोना भाइरस’ को संक्रमण नेपालमा पनि देखापरेको छ । चीनको वुहानबाट बिदामा नेपाल आएका विद्यार्थीको रगत र र्‍यालको नमुना परीक्षण गर्दा भाइरसको संक्रमण पुष्टि भएको हो । नमुना विशेष परीक्षणका लागि गत मंगलबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोलाबरेटिङ सेन्टर हङकङ पठाइएको थियो । नोवल कोरोना भाइरसको परीक्षण सेवा नेपालमा उपलब्ध छैन ।
ती विद्यार्थीलाई ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य मन्त्रालयको आपत्कालीन कार्य सम्पादन केन्द्रका प्रमुख सागर दाहालले ती व्यक्तिमा हाल भाइरसका लक्षण नरहेको बताए । ‘ती विद्यार्थी हाल स्वास्थ्य निकायहरूको प्रत्यक्ष निगरानीमा छन्,’ उनले भने । संक्रमण देखिएपछि सरकारले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीको प्रावधानअनुसार २४ घण्टाभित्रै डब्लूएचओलाई समेत जानकारी दिने भएको छ ।
हङकङबाट आएका अर्का एक व्यक्तिमा समेत नोवल कोरोना संक्रमण भएको आशंका गरिएको छ । विशेष निगरानीमा शुक्रबारदेखि टेकु अस्पतालमा राखिएका उनको र्‍याल र रगतको नमुना परीक्षणका लागि विदेश पठाउने तयारी गरिएको छ । भाइरसको संक्रमण देखिएपछि सघन निगरानीका साथै विस्तृत अध्ययन गरिरहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले संक्रमित व्यक्तिको सम्पर्कमा आएका स्वास्थ्यकर्मी, परिवारका सदस्य र अन्य व्यक्तिको खोजी गरी परीक्षण गरिने बताए । डब्लूएचओको प्राविधिक सहयोगमा रोग पहिचानका लागि ईडीसीडीले ‘अलगोरिधम चार्ट’ बनाइसकेको छ । यसमा अस्पताल र स्वास्थ्यकर्मीले शंकास्पद बिरामीको पहिचानसँगै उपचारमा अपनाउनुपर्ने विधि उल्लेख छ । चार्टमा शंकास्पद बिरामी, उनका परिवार र कुरुवाले रोग सर्न नदिन अपनाउनुपर्ने सावधानीबारे समेत उल्लेख छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नोवल कोरोना भाइरसले संक्रमित व्यक्ति मुलुकमा देखिनु धेरै संवेदनशील विषय रहेको बताए । उनले विमानस्थलको माध्यमबाट रोग भित्रिन नदिन २४ घन्टे हेल्थ डेस्कमार्फत विशेष सजगता अपनाइएको जनाए । शुक्रबार हेल्थ डेस्कमा
३ जना बिरामी आफैं समस्या भएको भन्दै
सेवाका लागि पुगेका थिए । हाल चीनबाट नेपाल आउने हरेक विमानमै यात्रुलाई स्वास्थ्यसम्बन्धी फारम भरेर विमानस्थलमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विमानस्थलको हेल्थ डेस्कबाट ज्वरो देखिएका बिरामी पहिचान गरी तोकिएका अस्पतालमा अवलोकन, परीक्षण, उपचारको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
टेकु अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले आफूहरू शंकास्पद बिरामीको उपचारका लागि पूर्णरूपमा तयार रहेको बताए । उनले स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्रीसहित संक्रमणबारे विस्तृत जानकारी दिनेसमेत बताए ।
पहिलोचोटि चीनमा देखिएको यो भाइरसको संक्रमण हालसम्म दक्षिण कोरिया, जापान, थाइल्यान्ड, भियतनाम, सिंगापुर र अमेरिकामा पनि देखिइसकेको छ ।

 

Page 2
समाचार

सहिद थरीथरीका

दलीय स्वार्थका आन्दोलन, अज्ञात समूहका आक्रमण तथा हत्या, सवारी दुर्घटनालगायतमा ज्यान गुमाएकालाई पनि सहिद घोषणा गरिँदा देश र जनताका हकअधिकारका लागि लडेका वास्तविक सहिदको अवमूल्यन
- मातृका दाहाल

(काठमाडौं) - कुरा ०२५ सालको हो, तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले ‘जिउँदो सहिद’ का रूपमा मासिक जीवन निर्वाह भत्ता मागे । तत्कालीन राजा महेन्द्रलाई समस्या पर्‍यो– ‘कस्ता व्यक्तिलाई कुन श्रेणीको सहिदको सूचीमा राख्ने ?’ यसबारे टुंगो लगाउन उनले नवराज सुवेदीको अध्यक्षतामा कार्यदल गठन गरे तर त्यसको प्रतिवेदन कार्यान्वयन भएन ।
०६७ सालमा पूर्वमन्त्री मोदनाथ प्रश्रितको अध्यक्षतामा गठित कार्यदलले सहिदलाई तीन प्रकारका सूचीमा राख्न सुझायो । पहिलो, आफू मर्छु भन्ने जान्दाजान्दै होमिएका । अर्को, मर्छु भन्ने नलागी होमिएका । तेस्रो, आर्थिक लाभकेन्द्रित । उक्त कार्यदलले बुझाएको प्रतिवेदन पनि गुपचुप छ ।
०६२/०६३ अघिसम्म वास्तविक सहिद भनेर १९९७ माघमा राणाशासकद्वारा मारिएका चार जना शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई चिनिन्थ्यो । राणाशासनको विरोध गरेका कारण माघ १० गते शुक्रराजलाई टेकुको खरीको रुखमा र १२ गते धर्मभक्तलाई सिफलमा झुन्ड्याएर मारिएको थियो भने दशरथ र गंगालाललाई माघ १६ गते शोभाभगवती मन्दिर किनारमा गोली हानेर मारिएको थियो । उनीहरूकै सम्मानमा माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाइँदै आएको छ ।
सहिद दिवस औपचारिक रूपमा ०१२ माघ १६ गतेबाट मनाउन थालिएको हो । ‘जिउँदा सहिद’ टंकप्रसाद आचार्य ०१२ माघ १३ मा नेपालको १९ औं प्रधानमन्त्री बने । त्यसै दिन मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर उनले माघ १६ मा ‘सहिद दिवस’ मनाउने घोषणा गरे । १९९७ सालमा मृत्युदण्डको घोषणा गरिएकामा चार सहिदबाहेक आचार्यको पनि नाम थियो तर राणाहरूले आचार्यलाई फाँसी दिएनन्, चारपाटा मुडेर जेल हालिदिए । त्यसपछि उनलाई जिउँदो सहिदका रूपमा चिनिन थाल्यो ।
डेढ दशकयता सहिदको सूचीमा धेरै नाम थपिएका छन् । नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ । पल्टनका लाहुरे थापालाई जंगबहादुर राणाविरुद्ध प्रचारबाजी गरेको आरोपमा वि.सं. १९३३ मा गोरखाको मनकामना मन्दिरअगाडि रूखमा झुन्ड्याएर मारिएको इतिहासमा उल्लेख छ । ०७२ असोज ३ को मन्त्रिपरिषद् बैठकले उनलाई औपचारिक रूपमा पहिलो सहिद घोषणा गरेको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा राष्ट्र र जनताका लागि योगदान गर्दागर्दै सहादत गरेका व्यक्तिलाई मात्रै सहिदको सूचीमा समावेश गरिनुपर्ने बताउँछन् । ‘जथाभावी सहिद घोषणा गर्नुपर्छ भन्नेमा छैनौं, यसमा करेक्सन हुनुपर्छ,’ शर्माले भने, ‘देशका लागि बलिदान दिएका बाहेकलाई सहिद बनाउँदा वास्तविक सहिदकै अवमूल्यन हुन्छ ।’ शर्माले अहिलेसम्म सहिद घोषणा गरिएका व्यक्तिको एकीकृत अभिलेख मन्त्रालयसँग नभएको बताए । उनका अनुसार मन्त्रालयले यस्तो अभिलेख तयार गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।
दलीय स्वार्थका आन्दोलन, अज्ञात समूहका आक्रमण तथा हत्या, सवारी दुर्घटनालगायतबाट ज्यान गुमाएकालाई पनि सहिद घोषणा गरिँदा देश र जनताका हकअधिकारका लागि लडेका वास्तविक सहिदको अवमूल्यन भएको जानकारहरू बताउँछन् ।
यस वर्ष पनि देशभर शुक्रबारदेखि सहिद सप्ताह सुरु भइसकेको छ । यही मेसोमा सक्कली र वास्तविक सहिद को–को हुन्, सहिदको सूची कति छ भन्ने तथ्यांक खोजबिन हुनुपर्ने बहस हरेक वर्ष चल्ने गर्छ । ०२५ सालमै तत्कालीन राजा महेन्द्रले सहिदको व्याख्या र सूची कसरी तयार पार्ने भन्नेबारे त्यसबेलाका गृहराज्यमन्त्री नवराज सुवेदीको अध्यक्षतामा कार्यदल गठन गरेका थिए । प्रधानमन्त्री सूर्यबहादुर थापालाई महेन्द्रले कार्यदल गठनको प्रक्रिया थाल्न निर्देशन दिएका थिए । जिउँदा सहिद टंकप्रसाद आचार्यले ‘मासिक जीवन निर्वाह भत्ता मागेपछि सहिदको परिभाषा गर्न महेन्द्रले प्रधानमन्त्री थापामार्फत कस्तालाई कुन किसिमको सहिद मान्ने भन्ने निर्देशिका बनाउन कार्यदल गठन गरेका थिए । ‘म गृहराज्यमन्त्री हुँदा ०२५ सालमै सहिदको व्याख्या र परिभाषासहित एउटा कार्यविधि बनाउन मेरै अध्यक्षतामा कार्यदल गठन भएको थियो,’ ५२ वर्षअघिको प्रसंग स्मरण गर्दै सुवेदीले कान्तिपुरसँग भने, ‘प्रतिवेदन बुझाए पनि कार्यान्वयनमा आएन, पछिल्लो अवस्था के छ भन्नेबारे म अनभिज्ञ छु ।’
पूर्वमन्त्री प्रश्रितको अध्यक्षतामा गठित कार्यदलले पनि सहिदलाई आफू मर्छु भन्ने जान्दाजान्दै होमिएका, मर्छु भन्ने नलागी होमिएका र आर्थिक लाभकेन्द्रित भएका गरी सहिदलाई तीन प्रकारको सूचीमा राख्नुपर्ने सुझावसहित प्रतिवेदन बुझायो । प्रश्रित कार्यदलको प्रतिवेदन पनि अझै गुपचुप छ । कार्यदलले जथाभावी सहिद घोषणा रोक्नुपर्ने सुझाव पनि दियो । सरकारले सुझावको पालना गरेको छैन ।


कार्यकर्तादेखि ॅअपराधी’ सम्म
०७५ असोज ४ मा अज्ञात समूहको गोली प्रहारबाट मारिएका सुनसरी हरिनगर गाउँपालिका–२ भुटाहाका मौलाना खुर्सिद अन्सारीलाई सरकारले असोज ५ मा सहिद घोषणा गरी राहतस्वरूप १० लाख दिने निर्णय गर्‍यो । ०७३ फागुन २३ मा मेची–महाकाली अभियानमा रहेका एमाले कार्यकर्ता र मधेसवादी दलसम्बद्ध प्रदर्शनकारीबीच झडप हुँदा पाँच प्रदर्शनकारीको मृत्यु भयो । प्रहरीको गोलीबाट मारिएका सञ्जन मेहता, पीताम्बर मण्डल, वीरेन्द्र महतो, आनन्द साह र इन्द्रदेव यादवलाई लगत्तै सहिद घोषणा र मृतकका परिवारलाई १० लाखका दरले क्षतिपूर्ति दिइयो ।
तत्कालीन एमालेसम्बद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी ०७४ पुस ४ गते आपराधिक समूहको गोली प्रहारबाट देवदहमा मारिए । पुस २१ गते देवदहमै फर्निचर व्यापारी वसन्त पौडेलको अज्ञात समूहले हत्या गर्‍यो । दुवै जनालाई पुस २८ गते सहिद घोषणा गरियो । दलीय आन्दोलनमा ज्यान गुमाएका व्यक्तिलाई सहिद घोषणा गर्ने क्रम पनि रोकिएको छैन । तत्कालीन सरकारले ‘आतंककारी’ घोषणा गरेका र ०५२ देखि ०६२/०६३ को बीचमा मारिएका करिब ७ हजार माओवादी कार्यकर्ता पुष्पकमल दाहाल र बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सहिद घोषित भए । एकैपटक सात हजारलाई सहिद घोषणा गर्न दाहाल र भट्टराई प्रधानमन्त्री हुँदा गृहमा सूची आएको थियो । नाम/ठेगाना नखुलेका र सरकारले आपराधिक गतिविधि गरेको कसुर लागेका व्यक्तिलाई पनि सहिदको सूचीमा परेपछि गृहसचिव गोविन्द कुसुमले रोकिदिएको गृहका एक सहसचिवको भनाइ छ ।
कुसुमले अवकाश पाएपछि तत्कालीन प्रधानमन्त्री भट्टराईले सूचीमा समेटिएकालाई एकमुष्ट सहिद घोषणा गरेका थिए । ती सबैका परिवारलाई १० लाखका दरले रकम बाँडियो । दोस्रो जनआन्दोलनमा मारिएका २५ जनालाई सहिद घोषणा र परिवारलाई १० लाखका दरले राहत दिने निर्णय भयो । त्यसपछि जसलाई पनि सहिद घोषणा गर्ने र १० लाख राहत दिने क्रम झन् बढ्यो । अवस्थामा सहिद घोषणालाई चुनाव जित्ने अस्त्रका रूपमा प्रयोग गरिएका तथ्य पनि थुप्रै छन् । ०७४ पुस २८ मा तत्कालीन मन्त्री सुनीलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषद्ले ०३६ कात्तिक २७ मा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गर्‍यो । नेकपा मालेका भूमिगत कार्यकर्तालाई प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा सुरक्षाकर्मीले गोली हानी मारेको आरोप लाग्दै आएको छ । आफ्नै बाबुको आदेशमा मारिएका भनिएका १६ जनालाई छोराको प्रस्तावमा सरकारले सहिद घोषणा गर्‍यो । सुनीलले सहिदको सम्मानका लागि नभई धनकुटामा आफ्नो ‘राजनीतिक फाइदा’ का लागि सहिद घोषणा गरेको विश्लेषकहरूको टिप्पणी छ ।
दोस्रो जनआन्दोलन ०६२ चैत २२ देखि वैशाख ११ सम्म चल्यो । १९ दिने उक्त आन्दोलनमा सुरक्षाकर्मीबाट मारिएका २५ जनालाई ०६३ जेठ २१ को मन्त्रिपरिषद् बैठकले औपचारिक रूपमा सहिद घोषणा गर्‍यो ।
०६४ असारदेखि माघसम्म विभिन्न पक्षबाट मारिएका आठ जना निजामती कर्मचारी पनि सहिदको सूचीमा परे । ०६५ जेठदेखि कात्तिकसम्म थप ८ जना कर्मचारी सहिद घोषित भए । ०६४ फागुन २१ देखि चैत २० सम्म मधेस आन्दोलनमा २६ जना मारिए । उनीहरू पनि सहिदकै सूचीमा छन् ।
०७३ भदौ २ गते थरुहट/मधेस आन्दोलनमा मारिएका ४१ प्रदर्शनकारी र ११ सुरक्षाकर्मी गरी ५२ जनालाई एकमुष्ट सहिद घोषणा गरियो । माओवादी सशस्त्र द्वन्द्वका क्रममा मारिएका सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरी कुल २ हजार ८ सय ७ जनालाई ०७५ माघ १४ मा एकमुष्ट सहिद घोषणा गरियो । कस्ता व्यक्ति कुन–कुन समयमा सहिद घोषित भए भन्नेबारे पत्ता लगाउन गृह मन्त्रालयले एउटा कार्यदल नै गठन गर्न लागेको छ । यसबाहेक पछिल्लो डेढ दशकमा अन्य थुप्रै व्यक्ति सहिद घोषित र मृतकका परिवारलाई आर्थिक सहायता बाँड्ने क्रम चलेको थियो । ‘पूर्वमन्त्री मोदनाथ प्रश्रितको अध्यक्षतामा गठित कार्यदलको प्रतिवेदन अक्षरशः पालना हुने हो भने जथाभावी सहिद घोषणा गर्ने गलत प्रवृत्ति रोकिन्छ,’ पूर्वसचिव कुसुमले कान्तिपुरसँग भने, ‘पछिल्लो डेढ दशकमा जघन्य अपराधमा जेल परेर मृत्यु भएका कैयौं व्यक्तिलाई पनि सहिद घोषित गरिएको छ, यो सहिद शब्दकै अवमूल्यन हो, यसप्रति सरकार गम्भीर र संवेदनशील हुनुपर्छ ।’

समाचार

टंकप्रसादले ‘जिउँदो सहिद’ को भत्ता माग्नुभयो

- कान्तिपुर संवाददाता

सहिदको परिभाषा र श्रेणी छुट्याउन ०२५ सालमा मेरो अध्यक्षतामा कार्यदल गठन भएको थियो । त्यसबेला म गृहराज्यमन्त्री थिएँ । प्रधानमन्त्री सूर्यबहादुर थापाजी हुनुहुन्थ्यो । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यजीले जीवन निर्वाहका लागि भन्दै ‘जिउँदो सहिद भत्ता’ माग्नुभयो । त्यसपछि राजा महेन्द्रले कार्यविधिबिनै भत्ता दिन नमिल्ने भएर कसलाई सहिद भन्ने, कसलाई जिउँदो सहिद भन्ने, सरकारले सहिदका परिवारलाई कस्तो किसिमको राहत उपलब्ध गराउने भन्नेबारे कानुनी प्रावधान बनाउन कार्यदल गठन गरेका थिए ।
सबै कुरा कार्यविधिमा समेट्न भनिएको थियो । पछि प्रतिवेदन कहाँ गयो, के भयो भन्नेमा म अनभिज्ञ छु । अहिले त जो पनि सहिद, जसलाई पनि सहिदको सम्मान र राहत वितरण गर्ने गरिएको छ भन्छन् । वास्तविक सहिदलाई यस किसिमको प्रवृत्तिले अवमूल्यन भएको छ । देशका लागि आफ्ना प्रियजन गुमाएका सहिद परिवारलाई यस किसिमका गतिविधिले त झन् झन् पीडा दिन्छ ।

समाचार

जसले आफ्नै बालविवाह रोकिन्

उनले बुबाको इच्छा होइन, आफ्नो सपना पछ्याउने अठोट गरिन् तर बिहेको कुरा रोकिएन, उनलाई हेर्न छिमेकी गाउँका केटा स्कुलसम्मै पुग्न थाले । जुन–जुन दिन केटाहरु उनलाई हेर्न स्कुल पुग्थे, त्यही–त्यही साँझ घरमा रडाको मच्चिन्थ्यो ।
- बिनु सुवेदी
रूपन्देही भरवालियाकी १७ वर्षीया पुष्पा गौतम ।

(काठमाडौं) - कक्षा ८ को परीक्षामा उनी ‘होल फर्स्ट’ भइन् । घरमा सबै जना खुसी भए, धेरैचाहिँ उनका बुबा । त्यस दिन बुबाले उनलाई एक जोर लुगा र जुत्ता किनिदिए, साँझ घरमा मीठो मसिनो पाक्यो । उनका बुबाले स्टुडियोमै लगेर खिचिदिएको फोटो घरको भित्तामा टाँसियो । ‘त्यो बुबाले मेरा लागि देखाएको अन्तिम प्रेम हो,’ लुम्बिनी सांस्कृतिक नगरपालिका–८ भरवालिया, रूपन्देहीकी पुष्पा गौतम (हरिजन) भन्छिन्, ‘त्यसपछि बुबा कहिल्यै आफ्नो हुन सक्नुभएन ।’
०७३ मा ८ कक्षा पास गरेपछि उनी ९ मा भर्ना हुने तयारीमा थिइन्, घरमा बिहेको कुरा चल्यो । १४ वर्षीया पुष्पा बिहेका लागि तयार थिइनन् । बुबा र दाजुसँग विवाद भयो । उनले बुबाको इच्छा होइन, आफ्नो सपना पछ्याउने अठोट गरिन् । तर बिहेको कुरा रोकिएन, उनलाई हेर्न छिमेकी गाउँका केटाहरू स्कुलसम्मै पुग्न थाले । जुन–जुन दिन केटाहरू उनलाई हेर्न स्कुल पुग्थे, त्यही–त्यही साँझ घरमा रडाको मच्चिन्थ्यो । तैंले इज्जत फालिस् भनेर बुबाले गाली गरे, बुबालाई दाइले साथ दिए तर पुष्पा टसकोमस भइनन् । ‘एक त मैले मेरो भविष्य बनाइसकेको छैन, अर्को हाम्रो देशको कानुनले २० वर्ष नपुगी बिहे गर्न हुन्न भनेको छ,’ उनले सुनाइन् ।
उनका तीन दिदीको बालविवाह नै भएको हो । सात कक्षाभन्दा माथि कसैले पढ्न पाएनन् । परिवारले दिन खोजेको त्यो निरन्तरतालाई उनी भत्काउन चाहन्थिन्, सफल
पनि भइन् ।
बिहे गर्दिनँ भनेकै कारण उनले भोगेको दुःखको ‘फाँट’ आँखाले नभ्याउन्जेलसम्मको छ । परिवार र समाजले लगाएका आक्षेप सम्झन मन लाग्दैन, बिर्सन पनि सक्दिनन् । यो उमेरमै बिहे गर्नुपर्छ र गर्दिनँ भन्ने विषयमा विवाद हुँदाहुँदै झोंक्किएका बुबाले बर्साएको लाठीको दाग उनको शरीरमा अहिले पनि देखिन्छ । ‘तर उपचारका लागि अस्पताल कहिल्यै लगेनन्,’ उनी सम्झिन्छिन्, ‘पिटाइका कारण बेला–बेला छाती दुखिरहन्छ ।’ आफूलाई लागेको चोट त सहेकै थिइन्, रोक्न जाँदा आमाले पनि कुटाइ खाएको कुराले उनलाई झन् पिरोल्छ । भन्छिन्, ‘मेरा लागि आमाले बहुत दुःख पाउनुभयो ।’
एसएलसी पास गरेपछि पछिल्लोपटक बिहेको प्रस्ताव आयो । उनले फेरि पनि मानिनन्, घरकाले छोड्दै छोडेनन् । अति भएपछि उनी बिहे रोकिपाऊँ भन्दै उजुरी बोकेर प्रहरी कार्यालय पुगिन् । उनको बिहे त रोकियो तर यातना थपियो । दिउँसो सुतिरहेका बेला उनको अनुहारमा कसैले केही पोतिदियो, अनुहार पटपटी फुट्यो । अहिले चर्किएको उनको गाला निको भइसकेको छैन । ‘यसलाई आफ्नो खुबसुरतीको खुब घमण्ड छ, त्यो तोडिदियो भने कसैले बिहे गर्दैन, अनि थाहा पाउँछे,’ गाउँलेले गरेको कुरा उनी सम्झिन्छिन् तर ठ्याक्कै कसले त्यसो गरेको होला भन्ने ठम्याउन सक्दिनन् ।
घर घरजस्तो लागेन । आमाबाहेक परिवारका सबै सदस्य पराईजस्ता भए । ‘मैले ८ पास गर्ने बित्तिकैदेखि पार्ट टाइम जागिर गर्न थालेको थिएँ, पढाइ खर्च आफैंले जुटाएँ,’ पुष्पा भन्छिन्, ‘पहिलोपटक आएको बिहेको प्रस्ताव अस्वीकार गरेका कारण घरबाट मैले खर्च पाउन छोडेकी थिएँ ।’ परिवारको हतोत्साह, गाउँलेको खिसिट्युरी र अपमान उनलाई शिर निहुर्‍याएर गुमनाम हुन काफी थिए तर रोजिन् फरक बाटो । स्थानीय कर्महवा माविमा कक्षा ११ मा पढिरहेकी उनी भन्छिन्, ‘बालविवाह ठीक होइन भन्ने लागेपछि मैले गाउँमा हुने बालविवाह रोक्न पहल थालेँ ।’
उनले रोजेको बाटो सहज थिएन । गाउँमा झन् धेरै कुरा काट्न थालियो । स्थानीय सरकार र प्रहरी प्रशासन उनी र उनीजस्तै अरू केही किशोरीले थालेको काममा सारथि बन्न सकेनन् । अघिल्लो वर्ष उनीहरूले गाउँमा भइरहेको एउटा बाल विवाहबारे स्थानीय प्रहरी कार्यालयमा उजुरी दिए । ‘उजुरी दिएपछि प्रहरी विवाह भइरहेको ठाउँमा पुग्यो पनि तर विवाह रोक्नुको सट्टा भोज खाएर फर्कियो,’ उनले सुनाइन् ।
गत साल उनको वडाकी सदस्य परमज्योति हरिजनका नातिको विवाह तोकियो । उनी १९ वर्षका मात्रै थिए । त्यसैले पुष्पाले जनप्रतिनिधिकै घरमा हुन लागेको गैरकानुनी विवाह रोकिपाऊँ भनेर उजुरी गरिन् । त्यतिखेर रोकिएको विवाह यही वर्ष उनीहरू २० वर्ष पुगेपछि भयो । त्यसो गरेबापत पुष्पालाई आएको धम्की भने डरलाग्दो थियो । ‘हाम्रो पछाडि पावर छ, कि हामीलाई दुःख दिन छोड्दे कि ज्यानको माया मार्,’ उनी परमज्योतिको परिवारले दिएको धम्की सम्झिन्छिन् ।
‘एक दिन त मर्नु छँदै छ, केही गरेरै मरौं भन्ने सोच्छु,’ पुष्पा ढुक्क देखिइन्, ‘अब त मलाई मर्नदेखि डर पनि लाग्दैन ।’ यसको कारण हो, परिवारभित्र मरणासन्न हुने गरी बारम्बार कुटिनु र संयोगले बाँच्नु । उनले यसरी आफूलाई जोखिममा राखेर गाउँका अरू चार वटा बालविवाह रोक्न सफल भएकी छन् । ‘मैले गाउँका अरू चार र मेरा आफ्नै दुई जना साथीको जिन्दगी नरकमा जानबाट बचाएँ,’ उनी उज्यालो भइन् । ‘बालविवाह गर्‍यो भने धेरै समस्या हुन्छ नि, हामी कसैको कोठा सजाउने मान्छे मात्रै त होइनौं,’ पुष्पा बाल विवाहका बेफाइदाबारे साथीहरूलाई सम्झाउँछिन्, ‘जिम्मेवारी पूरा गर्न सकिन्न, जिम्मेवार बन्न नसकेपछि घर–माइती कसैले हेर्दैनन्, घर न घाटको भइन्छ ।’
साथीहरूलाई सम्झाएझैं उनीहरूका अभिभावकलाई बुझाउन उति सजिलो छैन तर प्रयास गरिरहनुपर्छ भन्नेमा पुष्पा अडिग देखिन्छिन् । उनको यो अडानलाई गाउँलेले पचाएका छैनन् । उनी हिँडिरहेको बाटोमा परबाटै देखे भने खिसी गर्दै भन्छन्, ‘ऊ नेतिनी (नेता) आई ।’ उनी सोच्छिन्, ‘एक दिन म साँच्चिकै नेता भएँ भने भोट देलान् कि नदेलान् ।’
कामले त पुष्पा नेता भइसकेकी छन् । बालविवाह अन्त्य गर्ने मूल उद्देश्य बोकेर उनकै अध्यक्षतामा ‘किशोरी अधिकार मञ्च’ गठन भएको छ । मञ्चमा रूपन्देहीका करिब २ सय किशोरी आबद्ध छन् । यसलाई अझ विस्तार गरेर बाल विवाहविरुद्ध अभियान सञ्चालन गर्ने योजना उनको छ । यो अभियान सरकारको पनि हो । सरकारले सन् २०३२ सम्म मुलुकलाई बाल विवाहमुक्त बनाउने लक्ष्यसहित ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति ०७२’ सार्वजनिक गरिसकेको छ ।
यही रणनीतिमा साथ दिनुपर्ने स्थानीय तह भने गम्भीर भएको उनलाई लागेको छैन । उनको संस्थाले किशोरी विवाह अन्त्यका लागि स्थानीय सरकारसँग मिलेर काम पनि गर्न खोजेको थियो । त्यसका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी र उपप्रमुख जानकीदेवी श्रीवास्तवलाई धेरै पटक निवेदन पनि दिए । ‘तर उहाँहरू त हाम्लाई फुर्सद छैन भन्ने जवाफ दिनुहुन्छ,’ पुष्पा आक्रोश पोख्छिन्, ‘उहाँहरू हाम्रै लागि काम गर्न निर्वाचित हुनुभएको हैन र ? अनि हाम्रो कुरा पनि सुन्न फुर्सद हुन्न भने के हुन्छ त ?’ यही मुद्दा बोकेर पुष्पा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेट्न गएकी थिइन् । पोखरेलले उनका कुरा ध्यानपूर्वक सुने, आफूले गर्न सक्ने पहल सबै गर्ने जवाफ पनि दिए । ‘त्यतिखेर उहाँले म र मजस्तै धेरै किशोरीका पीडा सुनेर आँसु झार्नुभएको थियो,’ उनले भनिन्, ‘तर बिर्सिनुभयो कि खोइ, केही प्रगति भएको छैन ।’
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन, २०७६ अनुसार करिब १३ लाख किशोरी बाल विवाहको जोखिममा छन् । यिनै जोखिममा रहेकामध्ये एकै जनालाई भए पनि जोगाउन सकियो भने ठूलो उपलब्धि हुन्छ भन्नेमा पुष्पा आशावादी छिन् तर विश्वस्त छैनन् । साथी संस्थाले आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनका लागि काठमाडौं आउनै लाग्दा उनलाई बुबा र दाजुले फेरि धम्की दिए, ‘घर नफर्किउन्जेल तिमी सुरक्षित छौं, फर्किएपछि बाँच्ने आसै नगर ।’ आफ्नै परिवारका मान्छेले ज्यानै लिन्छन् भन्नेचाहिँ उनलाई लागेको छैन ।
तैपनि मनमा डर त हुन्छ नि । कहिलेकाहीँ घरै पो छोडौं कि जस्तो पनि लाग्छ । ‘तर भागेर कहाँ जाने ? गाउँमा अरूलाई पनि बिगारी आफू पनि भागी भन्लान् ।’ उनी आत्मविश्वासी देखिन्छिन्, ‘त्यसैले बालविवाह गर्न हुँदैन भनेर सबै कन्भिन्स नहुँदासम्म म गाउँ छोडेर कतै जान्न ।’
उनको सपना के होला ? ‘यस्तो काम गर्न सकुँ, मेरो
नाम र कामका कारण मेरी आमा स्टेजमा उक्लिन पाउन्,’ पुष्पाको सपना फक्रिन्छ, ‘मेरो बाहिरको दुःख र चोट देखिएको छ तर मनभित्रको अठोट देखिएको छैन, एक दिन त्यो
पनि देखिएला ।’

Page 3
Page 4
वाग्मती प्रदेश

नाच्दै गाउँदै जात्रा जोगाउँदै

यहाँका युवाले हराइसकेका पाँचथरीका जात्रा यसै वर्ष सञ्चालन गरे । उनीहरु भन्छन्– ‘बूढापाकाले सिकाइदिन्छन्, हामी जात्रा अघि बढाउँछौं ।’
- राजेन्द्र मानन्धर
परम्परागत भेषभूषामा आफ्नो सांस्कृतिक झाँकी प्रदर्शन गर्दै दोलखाको सुस्पा क्षमावती राङराङथलीका थामी समुदाय । तस्बिर ः राजेन्द्र/कान्तिपुर

(दोलखा) - भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष विराजमान श्रेष्ठ ढोलक पनि बजाउँछन् । हरेक जात्रापर्वमा बाजा बजाउँदै आफै नेतृत्व गर्न थालेपछि स्थानीय युवाको सक्रियता बढेको छ । नेवारी संस्कृति, मठमन्दिर, कलाकृति र मूर्तिहरूले भरिएको दोलखा सहरमा पुर्खादेखि चलाइँदै आएका संस्कार बचाउन युवाको चासो बढेको उनी बताउँछन् । ‘यहाँका युवाले यस वर्षमात्रै हराइसकेका पाँचथरीका जात्रा ब्युँताए,’ वडाध्यक्ष श्रेष्ठले भने ।
सुस्पा क्षमावतीको राङराङथलीबाट थामी जातिको उत्पति भएको हो । उत्पत्तिको रोचक र ऐतिहासिक कथाले भरिएको यही ठाउँमा थामी संग्रहालय निर्माणाधीन छ । विवाहको आफ्नै रीति, धातुका गरगहना, बाँसका सामग्री बनाउने सीप र मारुनी नाचलाई प्रदर्शन गरेर थामीहरूले पर्यटक पनि लोभ्याइरहेका छन् । भीमेश्वर–१ का वडाध्यक्ष वीरबहादुर थामीले जातीय पहिचान र संस्कृति जोगाउने अभियानमा पुनर्जागरण सुरु भएको बताए ।
थामी जातिको मन्त्र र गुरुअप्पाबाट उत्पन्न शक्तिलाई अलौकिक रहस्यका रूपमा हेरिन्छ । मौलिक पोसाकमा ढ्यांग्रोको तालमा अघिपछि उफ्रँदै शरीरमा देवता चढाउन सक्ने गुरुअप्पाहरूले केही दिनअघि नाच देखाए । महिलाहरू नाच्दै तिलकपोखरीको ओढार पुग्ने रोचक दृश्य पनि प्रदर्शन गरिए । ‘उक्त ओढार थामी जातिको उत्पत्ति सेरोफेरोमा सुरक्षित बसोबासस्थल थियो,’ वडाध्यक्ष थामीले भने । वडा कार्यालय पनि जातीय सम्पदा संरक्षणमा लागेको छ । थामीका पुर्खा बसोबास गर्ने जंगलको माझमा रहेको गुफालाई सांस्कृतिक थलो ठानेर संरक्षण गरिँदै छ । भूमेस्थान र स्नान गर्ने पोखरी व्यवस्थित हुँदै छन् । थामी संस्कृतिअनुसार जन्मदेखि मृत्यु हुँदासम्म गरिने परम्परालाई संगृहीत गर्न संग्रहालय पनि निर्माण गरिँदै छ ।
प्रसिद्ध भीमेश्वर महादेव उत्पत्तिको रोचक प्रसंग रहेको उक्त क्षेत्रमा गरिने भजनकिर्तनमा युवाको सहभागिता बढेको भीमेश्वर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठले बताए । ‘विभिन्न चाडपर्वमा जात्रा लागिरहने भीमेश्वर, काली मन्दिर, त्रिपुरासुन्दरी, चम्पुजा पार्क, टक्सार घरहरूको संरक्षण कार्य युवाकै हातबाट भइरहेको छ,’ उनले भने । दोलखा सहरमा अहिले ऐतिहासिक कलाकृति, वास्तुकला, प्राचीन नेवारी बस्तीको रहनसहन, संस्कार, संस्कृति र भाषा जोगाउने विभिन्न कार्यक्रम र अभियान चलिरहेका हुन्छन् ।
क्लबको अग्रसरता
सदरमुकाम चरिकोटका सबै जात्रा लालीगुराँस युवा क्लबको जिम्मामा छ । ‘बूढापाकाले सिकाइदिन्छन्, हामी जात्रा अघि बढाउँछौं,’ क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले भने । क्लबले लाखेजात्रा, हिलेजात्रा, गाईजात्रालाई विशेष तयारीपूर्वक मनाउने गर्छ । चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठ परम्परागत बाजा बजाउन र जात्रामा अभिनय गर्न युवाहरूले सिकेकाले सजिलो भएको बताउँछन् । चरिकोटस्थित चरिघ्याङ गुम्बामा वरपरका तामाङ युवालाई लामा भाषाको लिपि र नृत्य सिकाइन्छ । हरेक बिहान इच्छा हुने युवाले गुम्बामा लामा संस्कार र संस्कृति सिक्न सक्ने लामा साङधोर्जेले बताए ।
शेर्पा र जिरेल संस्कृतिको पहिचान बोकेको जिरी बजारमा यसै वर्षदेखि नेवारी संस्कृतिका जात्रा निस्कन थालेका छन् । स्थानीय बाबुराजा श्रेष्ठको सक्रियतामा नेवा लय दबु समिति स्थापना गरी विभिन्न स्थानमा चरिरहेको नेवारी जात्रा आयोजना गर्न थालिएको हो । जिरीमा नेवारी नाच सुरु गर्नुका साथै नयाँ पुस्तालाई संस्कृति, जात्रा र पर्व सिकाउने अभियान पनि चालिएको छ । नेवारी, जिरेल र शेर्पा परम्पराका जात्रा र पर्वका कारण जिरी बजार धार्मिक सहिष्णुताको नमुना बन्दै गएको मेयर टंक जिरेलले बताए । नेवारी परम्पराका जात्रा निस्कन थालेपछि जिरेल र शेर्पा समुदायले बिर्सिसकेका जात्रा पनि देखिन थालेका छन् ।

वाग्मती प्रदेश

पाहुनालाई आलु र अचार

- टीकाप्रसाद भट्ट

(रामेछाप) - ‘नमस्कार, फ्याफुल्ला,’ होमस्टे सञ्चालक मोमिङ थिङ पाहुनालाई सुरुमै खादा र माला पहिर्‍याउँदै भन्छन्, ‘हाम्रो दोरम्बामा स्वागत छ ।’ झन्डै १२ वर्षदेखि रामेछापको दोरम्बामा होमस्टे सञ्चालन गर्दै आएका मोमिनले अहिलेसम्म हजारौं पाहुनालाई यसरी नै स्वागत गरे र उस्तै हार्दिक बिदाइ पनि ।
नेपाल पर्यटन बोर्डसँग मिलेर अन्तर्राष्ट्रिय श्रम संगठनले आदिवासी जनजाति पदमार्गको प्रवर्द्धन गरेपछि दोरम्बामा चार वटा होमस्टे सञ्चालनमा आएका हुन् । अहिले तिनले पाहुनाको स्वागत, सत्कार र बिदाइ गर्नुका साथै होमस्टेको बसाइ सम्झनायोग्य बनाउन रुचिअनुसारको मिठो परिकार दिइरहेका छन् ।
‘होमस्टे पस्दा र बाहिरिँदा गर्ने स्वागत/बिदाइले दोरम्बालाई सम्झाइरहेको छ,’ केही दिन दोरम्बा बसेर फर्किएका सहरी विकास तथा भवन निर्माण विभागका सीडीई हिमाल केसीले भने, ‘चाहनाबमोजिम स्थानीय परिकारको स्वाद झन् बिर्सिन सक्ने कुरै भएन । झर्कोफर्को नगरी पाहुनाले चाहेको परिकार दिने सञ्चालकहरूको व्यवहार सम्झनायोग्य छ ।’
फापर, मकै र कोदोको ढिँडोमात्रै होइन सिस्नो र रायोको साग, लोकल कुखुराको सुप अनि दोरम्बाकै माटोमा फलेको आलु होमस्टेमा सहजै उपलब्ध हुन्छ । त्यसमाथि स्थानीय गोलभेडा र पदमचालको अचारको स्वादले पर्यटकलाई झनै लोभ्याउँछ । होमस्टे सञ्चालक रेशम योञ्जन पाहुनालाई बसुन्जेलमात्र होइन फर्कंदा दोरम्बाको चिनो दिएर पठाउने अभियानमा छन् । दोरम्बामा उत्पादन हुने आलु सबैभन्दा बढी रुचाइएको छ । मुढेको आलुको ब्रान्डले परिचित आलु दोरम्बा क्षेत्रकै हो । ‘दोरम्बाले ब्रान्ड कमाएन, शैलुङदेखि पुगेको आलु सबै मुढेको आलुको रूपमा बिक्यो,’ योञ्जन भन्छन्, ‘अब हामी दोरम्बा ब्रान्ड बनाएर आलु बाहिर पठाउदै छौं । पाहुनाले बारीमा खन्दाखन्दैको आलु रुचाइरहेका छन् ।’ प्राकृतिक छटाले भरिएको दोरम्बामा अहिले आन्तरिक र बाह्य पर्यटकको आगमनसमेत बढेको छ । आदिवासी जनजाति पदमार्ग सिन्धुपाल्चोकको मुढेदेखि शैलुङ हुँदै झर्ने पर्यटक दोरम्बामा पुगेर होमस्टेमा रमाउने गर्छन् । पदमार्गमा तामाङ, थामी, हेल्मो र माझीको संस्कृतिका साथै खाँडादेवी र शैलुङजस्ता पर्यटकीय स्थलको अवलोकन गर्न पाइन्छ । ३ हजार १ सय ४७ मिटर अग्लो शैलुङडाँडामा यतिबेला हिउँ खेल्न र हिमालय पर्वत शृंखला हेर्नका लागि पुग्ने अधिकांश आन्तरिक पर्यटक दोरम्बाको होमस्टेमै बस्ने गरेका छन् । सञ्चालकलाई भान्सादेखि सुत्ने कोठासम्मको सरसफाइ र खानाको परिकार लगायतमा तालिम दिइएको छ । भाडावर्तनदेखि पाहुनाले प्रयोग गर्ने सामानको सफाइमा होमस्टेमा विशेष ख्याल राखिएको स्थानीय केशव लामाले बताए ।
सरकारले दोरम्बालाई युद्ध पर्यटन स्थलको रूपमा विकास गर्ने योजना अघि सारेको छ । बीपी राजमार्गबाट दोरम्बासम्मको सडक कालोपत्रे गर्ने योजना वागमती प्रदेशले अघि बढाएको छ । उक्त सडक पूरा भएपछि दोरम्बा काठमाडौंबाट अझ नजिकिनेछ । सरकार–माओवादी युद्ध चलिरहेको बेला दोरम्बामा सेनाले २२ जना माओवादीको हत्या गरेको घटना अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेको थियो । सरकारले दोरम्बामा मारिएका २२ जनाको सालिक राखेको छ भने शान्तिपार्क लगायतका संरचना निर्माण गरेको छ । ‘पर्यटकले दोरम्बाको इतिहास पढेर पनि आउने विश्वास लिएका छौं,’ गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले भने ।

वाग्मती प्रदेश

म्याजिक भ्यान हटाउँदै भरतपुर

- कान्तिपुर संवाददाता

(भरतपुर) - भरतपुर महानगरको रिङरोड क्षेत्रमा निर्बाध सञ्चालनमा रहेका चारपांग्रे साना सवारी (म्याजिक भ्यान) लाई व्यवस्थित गर्न सवारीसाधनको संख्या घटाइने भएको छ । ट्राफिक व्यस्थापन अस्तव्यस्त भएपछि महानगरले नारायणगढ बजार क्षेत्रमा सीमित संख्यामा मात्रै सवारी सञ्चालनको अनुमति दिने निर्णय गरेको हो । फुटपाथका पसल र तीनपांग्रे सवारी व्यवस्थापनपछि चारपांग्रे साना सवारी व्यवस्थापन गर्न लागेको मेयर रेनु दाहालले बताइन् ।
भरतपुर महानगरमा हाल ६ सय ७४ वटा म्याजिक भ्यान सञ्चालनमा छन् । माघ ६ गतेको महानगर नगर कार्यपालिकाको निर्णयपछि अब बजार क्षेत्रको रिङरोडमा २ सय ५० वटामात्रै यस्ता भ्यान चल्न पाउनेछन् । म्याजिक भ्यानको अस्वस्थ प्रतिस्पर्धा र त्यसबाट निम्तिने दुर्घटना नियन्त्रण गर्न निर्णय कडाइका साथ कार्यान्वयन गर्ने महानगरको तयारी छ । महानगरका सबै वडामा यातायातको सहज उपलब्धता नभएको गुनासोलाई सम्बोधन गर्न यो निर्णय लाभदायक हुने मेयर दाहालको भनाइ छ ।
महानगरमा ५ वटा विभिन्न समितिमार्फत र निजी म्याजिक भ्यान सञ्चालनमा छन् । चितवन यातायात प्रालिको ३६७, सुन्दर चितवनको १३८, भरतपुर मलमलको ७५, संयोग नेपाल यातायातको ७६ र पूर्वी चितवन यातायात प्रालिको १८ वटा म्याजिक भ्यान सञ्चालनमा छन् । हेटौंडा, भरतपुर हुँदै मुग्लिन जाने र हेटौंडा, भरतपुर हुँदै नवलपरासी कावासोती जाने म्याजिक भ्यान पनि नारायणगढ क्षेत्रमा गुडिरहेका हुन्छन् । महानगरले समितिहरूलाई आफूमातहत चल्ने म्याजिक भ्यानको संख्या संशोधन गरी आउन भनेको छ । महानगरले म्याजिक भ्यानका लागि १२ वटा रुट तोकेको छ । २९ वटै वडा समेट्ने गरी रुट तयार गरिएको महानगरका अधिकृत देवीप्रसाद आचार्यले बताए ।
रिङरोडमा चल्ने म्याजिकका लागि नारायणगढको लायन्सचोकमा पार्किङ क्षेत्र निर्धारण गरिएको छ । अन्य म्याजिक भ्यानले रुटअनुसार सीमा क्षेत्रमा पार्किङ गर्नुपर्ने हुन्छ । जिल्ला ट्राफिक कार्यालयका
अनुसार चितवनमा हुने सवारी दुर्घटनामा जिपकारपछि भ्यान दोस्रो नम्बरमा पर्छ ।

वाग्मती प्रदेश

मोटरबोटमा उपराष्ट्रपति

- कान्तिपुर संवाददाता

चितवन (कास)– उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार नारायणी नदीमा मोटरबोटको यात्रा गरेका छन् । ‘रमाइलो लाग्यो,’ करिब आधा घण्टाको यात्रापछि उपराष्ट्रपति पुनले प्रतिक्रिया दिँदै भने, ‘बन्दै रहेछ, चाँडै तयार भएर व्यावसायिक रूपमा पनि सञ्चालन होस् ।’
नारायणगढदेखि झन्डै ६ किलोमिटर पश्चिम नारायणी नदी किनारमा मोटरबोटको स्टेसन छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले भरतपुर महानगरपालिका–१६ मंगलपुरको काप्रेघाटदेखि देवघाटसम्म मोटरबोट सञ्चालन गर्ने योजना बनाएको छ । प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार १५ करोड रुपैयाँको लागतमा मोटरबोट बन्नेछ । ‘इन्जिन राखेपछि नदीमा चल्न सक्ने वा नसक्ने बारेमा महिना दिनअघि परीक्षण गरेका हौं । १३० टनको यो क्रुज नदीमा सफलतापूर्वक चल्यो,’ उनले भने, ‘संरचना निर्माणका काम लगभग सकियो । साजसज्जा र मसिना काम बाँकी छन् ।’ दुई तलाको मोटरबोटमा एक पटकमा दुई सयजना चढ्न सक्नेछन् । पर्यटकीय उद्देश्यका लागि मोटरबोट सञ्चालन हुने हुँदा यसले चितवनको पर्यटन विकासमा नयाँ आयाम थप्ने उनले बताए । भारत केरलाको ग्रान्डियर मरिन इन्टरनेसनलका इन्जिनियर र प्राविधिकहरूले मोटरबोट बनाएका हुन् ।

वाग्मती प्रदेश

गढीमा सेतो हात्ती

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– २५७औं विजय उत्सवको अवसरमा मकवानपुरगढी गाउँपालिका–२ स्थित गढीमा सेतो हात्तीको मूर्तिको अनावरण गरिएको छ । तत्कालीन सेनवंशीय राजा हेमकर्ण सेनले चढ्ने एकदन्ते सेतो हात्तीको मूर्तिको वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अनावरण गरेका हुन् । उनले राष्ट्रिय झन्डाको पनि झन्डोत्तोलन गरेका थिए ।
सेतो हात्ती हेमकर्ण सेनले ज्वाइँ पृथ्वीनारायण शाहलाई दाइजो दिएका थिए । तर जेठान दिगबन्धन सेनले असहमति जनाएपछि पृथ्वीनारायणसँग उनको मनोमालिन्य भयो । पछि उक्त हात्ती मर्‍यो । हात्ती मरेकै स्थानमा शुक्रबार सेतो हात्तीको अनावरण गरिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बताए । ‘विदेशी फौजलाई पराजित गरेर नेपाली वीरता प्रदर्शन गरिएको यही थलो हो,’ इतिहासकार हिरण्यलाल श्रेष्ठले भने, ‘विदेशी फौजलाई त्यतिबेला पराजित गर्न नसकेको भए नेपालको कल्पना गर्न सकिँदैनथ्यो ।’ १८१९ माघ १० गते अंग्रेज फौजलाई गार्खाली सेनाले परास्त गरेको सम्झनामा विजयोत्सव मनाइएको हो ।

वाग्मती प्रदेश

कपडा बरामद

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– भन्सार छलेर भित्र्याइको एक लाख १७ हजार सात सय रुपैयाँको कपडा मकवानपुर प्रहरीले बरामद गरेको छ । हेटौंडा–१० स्थित बसपार्कबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र हजराको टोलीले उक्त कपडा बरामद गरेको हो । भन्सार छलेर ल्याइएका २० थान कुर्तासुरुवाल, ७५ थान साडीलगायत बरामद गरिएको मकवानपुरका प्रहरी प्रवक्ता इन्स्पेक्टर ललनप्रसाद कुर्मीले बताए । बरामद कपडा वीरगन्ज भन्सार पठाइएको छ ।

Page 5
उपत्यका

भूकम्पको पीडामा भगवान् पनि!

- सीमा तामाङ
बहुमूल्य मूर्ति तथा अन्य सामग्री राष्ट्रिय संग्रहालयमा राखिएको पुरातत्त्व विभागले बताए पनि भग्न मन्दिरको दृश्यले यो दाबीलाई पत्याउने आधार दिँदैनभूकम्पले ध्वस्त बनाएको ललितपुरस्थित शंखमूलको जगतनारायण मन्दिर (माथि) र अलपत्र मूर्ति र घण्टा । तस्बिर ः बिजु महर्जन/कान्तिपुर

(ललितपुर) - ढुंगा खोपेको छेपु अर्थात् गरुडको मूर्ति झारले पुरिएको छ । ढुंगामै कुँदिएका अरू मूर्तिको छेउटुप्पो छुट्टिएका छन् । काठका मूर्ति पनि उसरी नै अलपत्र देखिन्छन् । मूल मन्दिरको जगलाई संरक्षण गर्नुका साटो निर्माण सामग्री थुपारेर अस्तव्यस्त बनाइएको छ ।
भूकम्पको साढे चार वर्ष बित्दासमेत धेरैमा यसको त्रास मेटिइसकेको छैन । कतिपय भूकम्पपीडित अझै टहरोमै दैनिकी गुजारिरहेका छन् । ललितपुरस्थित शंखमूलको जगतनारायण मन्दिरको यो कहालीलाग्दो अवस्था देख्दा लाग्छ, मानिसमात्र होइन भगवान् पनि भूकम्पबाट पीडित छन् । स्थानीयका अनुसार मन्दिर ध्वस्त भए पनि मूर्ति रहेको ठाउँलाई बाहिर देखाउन मिल्दैन । तर पुनर्निर्माणले गति नलिँदा भगवान्का मूर्ति अस्तव्यस्त छन् । इँटा र काठमा कुँदिएका मूर्तिको स्वरूप बिग्रँदै गएको छ । मन्दिरमा प्रयोग गरिएका प्राचीन काठ, इँटा, ढुंगा फुटेर असरल्ल छन् । काठमा कुँदिएका कला पनि पानीमा भिजेर नचिनिने अवस्थामा छन् । निर्माण सम्पन्न नभएको सत्तलको पनि ढाकछोप गरिएको छैन ।
मन्दिरको पूर्व, पश्चिम र दक्षिणतर्फ तीन वटा सत्तल छन् । उत्तरतर्फ मन्दिरको ढोका छ । मन्दिमा गणेश, कुमार, रातो हनुमानको ढुंगाको मूर्ति छन् । भूकम्पबाट यी मूर्ति भने जोगिएका छन् । मन्दिरको ढोकामा रहेका दुईमध्ये एउटा भने अलपत्र छ । मन्दिर छेउमा राखिएको बहुमूल्य तथा प्राचीन घण्टीको आधा भाग माटोमा पुरिएको देख्दा मन कुँडिन्छ । ढुंगाको कलात्मक थामको पनि अवस्था उस्तै छ । मन्दिरको उत्तरतर्फ अग्लो गरुडको स्तम्भ छ । त्यसको मुनि निर्माण सामग्री थुपारिएका छन् ।
मन्दिरको बहुमूल्य मूर्ति तथा अन्य सामग्री छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको पुरातत्त्व विभागका प्रवक्ता रामकुमार कुँवरले दाबी गरे पनि यहाँको दृश्यले उनको दाबीलाई पत्याउने आधार दिँदैन । ‘उठाउन सकिने र बहुमूल्य मूर्ति संग्रहालयमा छन्,’ उनले भने, ‘तर एक ठाउँदेखि अर्को ठाउँमा सार्न नसकिने वस्तु परिसरमै छन् ।’ पुनर्निर्माण सकिएपछि बिस्तारै त्यसको व्यवस्थापन हुने उनले बताए ।
मन्दिरको पुनर्निर्माण गर्न आवश्यकताअनुसार सार्वजनिक जग्गा नभएकाले निर्माण सामग्री जथाभावी राखिएको डकर्मी राजन सुवालले बताए । मन्दिरमा १४ जना कामदार कार्यरत छन् । दुई जनाले काष्ठकलाको र १२ जनाले सत्तलको जग खन्ने, गारो लगाउने काम गरिरहेका छन् । अहिले पश्चिमतर्फको सत्तल भत्काई जग खन्ने काम भइरहेको उनले बताए ।
मुख्य मन्दिर निर्माणको गर्न तीन वटा पेटी बनाइसकेको छ । तर, त्यहाँ पनि झार उम्रिएको छ । पूर्वतर्फ रहेको सेतो हनुमान पनि झारले घेरिएको छ । पश्चिमतर्फको सत्तल भत्काई जग खन्ने काम भइरहेको कम्पनीका सुपरभाइजर सुरज महर्जनले बताए ।
दक्षिणतर्फको सत्तल पूर्णरूपमा निर्माण भएको छैन । दुईतले सत्तलको छाना छाउन बाँकी छ ।
पूर्वतर्फको सत्तलको एक तला निर्माण गरिए पनि दोस्रो तलाको काम बाँकी छ । महर्जनका अनुसार पहिलो
ठेकेदार (रविनकुमार जोशी) ले कामदार र निर्माण सामग्री समयमा ल्याउन नसक्दा कामले गति लिन सकेको थिएन । तीन वर्षदेखि सुपरभाइजरमा काम गरिरहेका
महर्जनले भने, ‘ठेकेदार बीचबीचमा गायब हुन्थ्यो । कहिले तीन, कहिले सात महिनासम्म सम्पर्कविहीन हुन्थ्यो । त्यसबेला कामसँगै मजदुरले पनि पैसा नपाएको गुनासो आउँथ्यो ।’ त्यसकारण पुरातत्त्व विभागले नै अहिले नयाँ ठेकेदारलाई कामको जिम्मा दिएको छ । ‘नयाँ ठेकेदारले काम सुरु गरेको दुई महिना भए पनि सम्झौताअनुसार तीन महिना पुगेको छ,’ उनले भने, ‘म्याद सकिएकाले थप गर्ने प्रक्रियामा छ ।’
विभागले ९ करोड २० लाख रुपैयाँमा राजेन्द्र/रफिना/राम जेभीलाई निर्माणको जिम्मा दिएको थियो । ०७३ पुसदेखि ०७६ असार मसान्तसम्म निर्माण सम्पन्न हुने गरी सम्झौता भए पनि मन्दिरको ३० प्रतिशत काम सम्पन्न भएको विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठले बताए । ‘निर्माण सामग्रीको अभाव र ठेकेदारको ढिलासुस्तीका कारण ढिलाइ भएको हो,’ उनले भने, ‘अहिले निर्माणले गति लिएको छ । दाँची अप्पा (पुराना खालका इँटा) अभाव हुँदा अन्य काम गरिरहेका छौं ।’ मौलिक शैलीमा मन्दिर निर्माण गर्नुपर्ने भएकाले कहिलेकाहीँ निर्माण सामग्रीको अभावले पनि काम रोकिने गरेको उनले बताए । ‘कम्पनीले एक वर्षअघि एक करोड ३५ लाख ६७ हजार रुपैयाँ भुक्तानी लिएको थियो,’ उनले भने, ‘त्यसपछि थोरै रुपैयाँको मात्र काम भएकाले भुक्तान गरिएको छैन ।’
जगद्गुरु आश्रमका गुरु दीपक पोखरेलले ठेकेदारको ढिलासुस्ती र सम्बन्धित निकायको चासो नपुग्दा निर्माण सुस्त भएको बताए । उनका अनुसार शंखमूल, वागमती, रुद्रमती र मणिमतीको संगमस्थल भएकाले शंखमूललाई पवित्र धाम मानिन्छ । ‘हाल निर्माण भएको पार्कमा परापूर्वकालमा रावणले पानीमुनि १० वर्ष तपस्या गरेका थिए  । तपस्यापछि प्रसन्न भएर शिवजीले ती रावणको नाम शंखासुर राखिदिएका थिए ,’ उनले भने, ‘शंखासुरले तपस्या गरेको ठाउँबाट पानीको मूल उठेपछि यस ठाउँलाई शंखमूल नामकरण गरियो,’ पोखरेलले भने ।
उक्त मन्दिरलाई जंगबहादुर राणाका भाइ जगतशमशेर राणाले एक सय ७० वर्ष पहिले निर्माण गरेको जनश्रुति छ । शंखमूलधाममा रहेको जगतनारायण मन्दिर परिसर प्रथम जगद्गुरुको सम्मानमा सरकारले ०६८ सालमा जगद्गुरु निवासको रूपमा प्रदान गरेको हो । पाँच रोपनी जग्गामा मन्दिर निर्माण भइरहेको छ ।

उपत्यका

व्यापारिक कम्प्लेक्स बनाउन फेरि चलखेल

विद्यालयको पर्खाल एकतर्फी रूपमा भत्काउँदा खेल मैदानको रूपमा रहेको ७ आना खाली जग्गा गुम्नेछ
- प्रशान्त माली
पुल्चोकस्थित मदन स्मारक विद्यालयको खेलमैदान । विद्यालय व्यवस्थापन समितिको सहमतिबिनै ठेकेदार कम्पनीले यहाँ व्यापारिक भवन बनाउने तयारी थालेको छ । तस्बिर ः कान्तिपुर

(ललितपुर) - ललितपुरको पुल्चोकस्थित मदन स्मारक माध्यमिक विद्यालयको खेलमैदानमा व्यापारिक कम्प्लेक्स बनाउन फेरि चलखेल सुरु भएको छ । विद्यालयको जग्गामा बाटो विस्तार गरेर भवन बनाउन लागिएको हो । सडक विस्तार गर्ने बहानामा विद्यालयको जग्गामा एकतर्फी पर्खाल लगाउन थालिएको छ । यसअघि स्थानीयले जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएपछि काम रोकिएको थियो ।
विद्यालयले ०६४ मा पूर्वपट्टिको तीन रोपनी जग्गामा व्यापारिक भवन बनाउन ललित मण्डप ट्राभल एन्ड टुर्सलाई २५ वर्षका लागि भाडामा दिएको थियो । ०६८ मा विद्यालय, टुर्स र क्लासिक डाइमन्सबीच सहमति हुँदा डाइमन्सलाई दिने निर्णय भयो । ठेकेदारले भवन बनाउन लाग्दा ललितपुर महानगरपालिकाले गाइडेड ल्यान्ड डेभलपमेन्ट (जीएलडी) मापदण्डअनुसार सडक चौडा नभएको भन्दै नक्सापासमा रोक लगाएको थियो । अहिले नक्सापास स्वीकृतिका लागि कम्प्लेक्स बनाउने योजनाअनुरूप सडक चौडा गर्न विद्यालयको पर्खाल भत्काइएको स्थानीय बताउँछन् ।
विद्यालयको पूर्वपट्टिको भाग नःटोल–पाटनढोका सडकअर्न्तगत पर्छ । जीएलडी मापदण्डअनुसार सडक ११ मिटरको छ । सडकको क्षेत्राधिकारअनुसार बीच भागबाट दायाँबायाँ ५.५ मिटर छोड्नुपर्छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश डंगोलले आफूहरूको निर्णयविपरीत जनप्रतिनिधिको संरक्षणमा उपभोक्ता समितिले जबरजस्ती काम थालेको बताए । ‘सडक विस्तारको आवश्यकता हो भने सबैसँगको सहकार्यमा गर्नुपर्थ्यो,’ उनले भने, ‘यो त मनोमानी ढंगबाट भयो ।’ विद्यालयको पर्खाल एकतर्फी रूपमा भत्काउँदा खेल मैदानको रूपमा रहेको ७ आना जग्गा क्षति पुग्ने उनले बताए । ‘यो बिल्कुल विद्यालयलाई मान्य छैन,’ उनले भने ।
सडकको अर्कोतर्फ मिश्रित बस्ती भएकाले मापदण्ड लागू नहुने महानगरको तर्क छ । ललितपुर महानगरपालिका–३ का अध्यक्ष श्रीगोपाल महर्जनले पाटनढोका–पुल्चोक सडकको पूर्वपट्टिका बस्तीमा घर बनाउँदा सेडब्याक छोड्न नपर्ने दाबी गरे । ‘सेडब्याक छोड्न नपर्ने भएकाले सडक विस्तार गर्दा घर पनि भत्काउन पर्दैन,’ उनले भने, ‘विद्यालय व्यवस्थापन समितिसँग छलफल गरेर मात्र पर्खाल लगाएको हो ।’ विद्यालयका प्रिन्सिपल गोविन्दप्रसाद पौडेलले जनप्रतिनिधिसँग छलफल भए पनि विद्यालय व्यवस्थापन समितिबाट निर्णय नभएको बताए । ‘महानगरमा भएको बैठकमा विद्यालयले सहजीकरण गर्ने भन्ने कुरा भएको हो,’ उनले भने । यस विषयमा स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दर्ता गरेका छन् । अख्तियारमा परेको उजुरीमा विद्यालयको जग्गामा विभिन्न संरचना निर्माण गरी व्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्यले पर्खाल लगाउन थालेको, प्रशासनले गर्नुपर्ने निगरानीमा कमी आउनासाथ विद्यालयको जाडो बिदाको दिन पारेर पुनः काम सुरु गरेको र आर्थिक चलखेल हुन सक्ने सम्भावना रहेको उल्लेख छ ।
स्थानीय पृथविन्दु महर्जनले केही पहुँचका व्यक्तिको मिलेमतोमा सडक विस्तारको नाममा विद्यालय जग्गामा व्यापारिक कम्प्लेक्स बनाउन लागेको बताइन् । ‘अख्तियारले यससम्बन्धी चाँडै छानबिन थालेर दोषीमाथि कारबाही गरोस्,’ उनले भनिन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले महानगर र विद्यालयबीच सहमतिमा काम हुन लागेकाले प्रशासनको खासै भूमिका नभएको प्रतिक्रिया दिए । ‘विद्यालयलाई क्षतिपूर्ति दिने र आवश्यक परेमा संरचना बनाउने निर्णय भएको छ,’ उनले भने ।
सचिवले दिए राजीनामा
विवाद बढेपछि उपभोक्ता समितिका सचिव राजेन्द्रप्रसाद विडारीले पदबाट राजीनामा दिएका छन् । उनी विद्यालयका शिक्षकसमेत हुन् । विद्यालय ललितपुर महानगरपालिका–३ मा पर्छ । तर,
सडक चौडाको काम भने २० नम्बर वडाबाट
स्थानीय उपभोक्ता समिति गठन गरेर भएको छ । उपभोक्ता समितिका अध्यक्ष दिनेश महर्जनले विडारी विद्यालयका शिक्षक भएकाले समितिमा बस्न नहुने भएर राजीनामा दिएको तर्क गरे । ‘३ नम्बर वडाले चासो नदिएकाले २० बाट काम थालेका हौं,’ उनले भने, ‘२० नम्बरका वडाध्यक्षको सहमतिमै काम थालिएको हो ।’
ललितपुर महानगर–२० का वडाध्यक्ष चन्द्र महर्जनले ट्राफिक जामका कारण सडक विस्तार गर्नुपरेको दाबी गरे । यही सडक चौडा गर्न ललितपुर महानगरले यस आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

उपत्यका

दुईमाजुको अतिक्रमण हट्यो

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– दुईमाजु मन्दिर परिसरको अतिक्रमण हटेको छ । काठमाडौं महानगरपालिका र गुठी संस्थानको मिलेमतोमा खुलामञ्च छेउकै यो क्षेत्र व्यापारीले कब्जा गरेका थिए । संस्थानबाट पसल सञ्चालन गर्न अनुमति लिएकी गोरखा तान्द्राङकी अमृता भट्टराईले अरू व्यापारीलाई समेत पसल सञ्चालन गर्न दिएकी थिइन् । पूजाको सामान बेच्ने र मन्दिरको सफाइ गर्ने सर्तमा संस्थानले गत चैतमा उनलाई पसल चलाउने अनुमति दिएको थियो । आफूले मासिक १५ हजार तिर्ने गरी भाडामा लिएर उनले अरू व्यापारीलाई जनही ५ हजार लिएर पसल चलाउन दिएपछि दुईमाजु क्षेत्र अव्यवस्थित हुनुका साथै अतिक्रमणको चपेटामा परेको थियो । सम्पदा संरक्षणकर्मी र स्थानीयले विरोध गरेपछि गत वैशाखमा पसल हटाइए पनि दसैंताका फेरि तिनै व्यापारीले कब्जा गरेका थिए ।
संरक्षणकर्मीको विरोधपछि भट्टराईसँगको सम्झौता संस्थानले खारेज गरे पनि व्यापारीले भने कब्जा जमाइरहेका थिए । अटेर गरेपछि काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष भाइराम खड्गी र गुठी संस्थान काठमाडौंका प्रमुख शैलस पौडेललगायतको टोलीले बाहिर गेटमा ताला लगाइदिएका थिए । उक्त क्षेत्रमा पसल सञ्चालनका लागि टहरा बनाउन काठमाडौं महानगरपालिकाले समेत सहमति दिएको थियो ।
दुईमाजुका पुजारी उद्धव कर्माचार्यका अनुसार पसलले मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई अप्ठेरो परेको थियो । मन्दिरसमेत भित्र पर्ने गरी यहाँ सटर निर्माण गरिएको छ । मन्दिरको वरिपरि खाट राखिएका छन् । टहरा भने जस्ताको तस्तै छ । यसको संरक्षण काठमाडौं महानगरपालिकाले गर्ने उपप्रमुख खड्गीले बताइन् । ‘यसको रेखदेख र सफाइ अब वडा कार्यालयले गर्छ,’ उनले भनिन्, ‘सम्पदा जोगाउने नाममा हुने कुनै पनि अतिक्रमण हामी हटाउँछौं ।’ काठमाडौंको मुख्य धार्मिक स्थलमध्येमा पर्छ, दुईमाजु । पुजारी कर्माचार्यका अनुसार दुईमाजु भनेको अदृश्य शक्ति हो । अदृश्य शक्तिलाई धोक्रोजस्तो स्वरूपमा छोपिएको हुन्छ । यो मन्दिरमा आकृति नदेखिने दुईमाजु छन् । खुला रहेको यो स्थानमा १९९० सालको भूकम्पपछि राणाहरूले मन्दिर निर्माण गरेको कर्मचार्यले जानकारी दिए ।

उपत्यका

परीक्षा दिँदै ट्राफिक प्रहरी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कार्यक्षमता बढाउन र सडक सुरक्षा तथा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीमा परीक्षा प्रणाली सुरु गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काम–कारबाहीलाई मुल्यांकन गर्नर् नयाँ परिपाटीको थालनी गरेको हो । दैनिक काम–कारबाही तथा गतिविधिलाई चार खण्डमा विभाजन गरी ४ सय पूर्णांकका ५० प्रश्न तयार गरी मूल्यांकनको आधार बनाइएको छ । जसमध्ये, कार्यालय व्यवस्थापन, प्रहरी आचरण, व्यवहार एवं अनुशासनबापत २५ अंक, ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणबापत २ सय अंक, सवारी चोरी एवं सवारी दुर्घटनासम्बन्धी अनुसन्धानमा ६० अंक र सिर्जनशील एवं उपलब्धिमूलक कार्य सम्पादन गरेबापत १ सय १५ अंकमा विभाजन गरेको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।
महाशाखाले उपत्यकाका ४४ वटै इकाइसँग अन्तर इकाइ कार्य सम्पादन परीक्षाको करार सम्झौता गरेको छ । तीनतीन महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीलाई समेत पुरस्कृत गरिने ढकालले बताए । ‘वास्तविक लेखाजोखा हुँदा प्रतिस्पर्धाको भावनामा वृद्धि हुन्छ,’ उनले भने, ‘यसले काम गर्न थप हौसला बढ्छ र समग्र ट्राफिक व्यवस्थापनमा सुधार हुँदै जानेछ ।’ प्रहरीले गर्ने हरेक कामको मूल्यांकन गरिने भएपछि इकाइ प्रमुख र अन्य कर्मचारीमा उत्साह बढ्ने उनको भनाइ छ । ४ सय पूर्णांकको परीक्षामा ८० प्रतिशतभन्दा माथि ल्याउने विशिष्ट श्रेणी, ६५ देखि ८० प्रतिशत ल्याउने प्रथम श्रेणी, ५५ देखि ६५ प्रतिशत ल्याउने द्वितीय श्रेणी र ४५ देखि ५५ प्रतिशत ल्याउनेलाई तृतीय श्रेणी तोकिएको महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए ।

उपत्यका

यसै वर्ष पूर्णकदको सालिक

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सप्ताहव्यापी सहिद दिवसको पहिलो दिन शुक्रबार काठमाडौं महानगरपालिकाले सहिद शुक्रराज शास्त्रीलाई श्रद्धाञ्जली अर्पण गरेको छ । काठमाडौंको टेकु पचलीमा आयोजित कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले पारिवारिक शासकीय शक्ति जनताका हातमा पुर्‍याउन बलिदानी दिने सहिदको योगदानका कारण नेपालमा गणतन्त्र सम्भव भएको बताए । ‘दलको कुरा गर्न नपाइने अवस्थामा ज्यानको ख्याल नगरी प्रजातन्त्रका पक्षमा ज्यान आहुति दिने सहिदको योगदान मेरा लागि सिकाइ हो,’ उनले भने ।
महानगरपालिकाले यस वर्ष धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको सालिक प्रतिस्थापन गर्ने जनाएको छ । गत वर्ष पचलीस्थित खरिबोटमुनि शुक्रराज शास्त्रीको शालिक अनावरण गरिएको थियो । सहिद सप्ताहमा माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमा, माघ १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्द र माघ १६ गते सहिद स्मारक लैनचौरमा ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पणको कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।

Page 6
विविधा

जग नहाँसोस्, भ्रमण वर्षमा

 

अन्य मुलुकमा सवारी दुर्घटनालाई यदाकदा हुने असामान्य घटनाका रूपमा लिइन्छ । तर हाम्रो राजधानी र अन्य सहरहरूमा सडक दुर्घटना दिनानुदिन हुने नियमित घटना बन्न पुगेको छ । अन्य मुलुकमा सडक दुर्घटना घट्ने क्रममा रहेको पाइन्छ । हामीकहाँ दुर्घटना घट्नु सट्टा प्रत्येक वर्ष बढ्दै गइरहेको छ । विचारणीय कुरा त अधिकांश दुर्घटना पैदल यात्रीका लागि बाटो काट्ने प्रयोजनका लागि निर्धारित जेब्राक्रसिङमै हुने गरेका छन् । हालैको एक समाचार अनुसार सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी चेली तामाङ विगत ३ वर्षदेखि ट्रमा सेन्टरको बेड नं. ५१४ मा बसेर उपचार गराइरहेकी छिन् । जेब्राक्रसिङबाट बाटो काटिरहेको बेला तेजरफ्तारमा आएको मोटरले धक्का दिएपछि उनी सख्त घाइते भएकी थिइन् । अहिलेसम्ममा उनले उपचारमा ८० लाख खर्च गरिसकिन् । अझ कति लाग्ने हो, थाहा छैन । तथ्यांक अनुसार यही मंसिर महिनामा मात्रै ११ जना पदयात्रीले ज्यान गुमाएका छन् । दुर्घटना कम गर्ने प्रयास भइरहेको पढ्न–सुन्न पाइन्छ । तर दुर्घटना भने दिन–प्रतिदिन बढ्ने क्रममा छ ।
सरसर्ती हेर्दा यसको पहिलो कारण बाटो र फुटपाथको दुरवस्था नै हो । सडक निर्माण गर्ने र सडकको स्थितिको अनुगमन गरेर मर्मत–स्याहार गर्ने निकाय नभएका होइनन् । तर खाल्डाखुल्डीले भरिएका अधिकांश सडकहरू सडक भन्नलायक छैनन् । धुलाम्मे, हिलाम्मे सडकले वर्षैभरि राजधानीलाई गिज्याइरहेको जस्तो लाग्छ । स्थानीय बासिन्दाले कतिपटक सडकमै धान रोपाइँ गरेर विरोध प्रदर्शन गरे पनि यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षित भएको पाइँदैन । हुन त कुनै उच्चपदस्थ विदेशी नेताको आगमनको बेला हाम्रा यिनै
निकायले एकरातमा कालोपत्रे गरेर आफ्नो कार्यकुशलता देखाइदिएका दृष्टान्त धेरै छन् । तर निकै ठूलो खर्च
गरेर हतार–हतार बनाइएका त्यस्ता सडक पाहुना
फर्कन नपाउँदै पुनः पहिलेकै दुरवस्थामा पुगेका
उदाहरण पाइन्छ ।
उता सडक विस्तारका क्रममा फुटपाथ साँघुरिंँदै गइरहेका छन् । त्यसमा पनि निर्माण सामग्री थुपार्ने कामका साथै फुटपाथमा पसल थापेर व्यापार गर्नेगर्दा पदयात्रीलाई हिँंड्न सकस भइरहेको हुन्छ । यस्तो अवस्थामा पदयात्रीहरू फुटपाथबाट सडकमा उत्रिएर यात्रा गर्न बाध्य भइरहेका हुन्छन् । यसरी विचार गर्दा सडकको अवस्थालाई मात्र दुर्घटनाको कारण भन्न सकिन्न । सडक व्यवस्थापन सम्बन्धी हाम्रो मानसिकता र प्राथमिकताको धारणा पनि उत्तिकै जिम्मेदार छ । विकसित मुलुकहरूमा पैदलयात्री त्यसमा पनि बालवृद्धहरूलाई सर्वाधिक प्राथमिकता दिने गरिन्छ । पैदलयात्रीले जेब्रा क्रसिङमा टेक्ने बित्तिकै वाहनहरू तत्काल रोकिन्छन् । सवारी चालकले नै पैदलयात्रीहरूलाई सडकपार गर्नुस् भनेर इसारा गर्छन् । तर हामीकहाँ पैदलयात्रीभन्दा पनि गाडीहरूलाई प्राथमिकता दिएर ट्राफिक सञ्चालन गरिन्छ । उनीहरूको मुख्य प्राथमिकता नै गाडीहरूलाई छिटोभन्दा छिटो हिँंडाएर ट्राफिक जाम हुन नदिनेतर्फ केन्द्रित भइरहेको हुन्छ । फेरि ट्राफिकको इसारा पाउने बित्तिकै दोबाटो, चौबाटोमा पनि कसले उछिनेर पहिले पार गर्ने भनेर गाडीहरूको म्याराथन दौड सुरु हुन्छ । अब यो गोलीको पर्रा छुटेको जस्तो वाहनको तँछाड–मछाडमा पैदलयात्रीहरूको लागि चुपचाप रमिता हेर्नुको विकल्प हुँदैन । सडक पार गर्नका लागि पैदलयात्रीहरूको पालो कहिले पनि आउँदैन । कोही अत्यावश्यक कामले हतार परेकाहरू यस्तैमा पनि ज्यान हत्केलामा लिएर सडक पार गर्न तम्सिन्छन् । र गाडी र मोटरसाइकलहरूको चेपाचेपमा परेर ज्यान गुमाउन पुग्छन् । त्यसो त राजधानीको नयाँबानेश्वर, त्रिपुरेश्वर जस्ता कति ठाउँमा ट्राफिक व्यवस्थापन गर्दा पैदलयात्रीका लागि पनि बाटो पार गर्ने अवसर प्रदान गर्ने गरिएका उदाहरण छन् । तर यही व्यवस्था अन्यत्र किन हुन नसकेको बुझ्न सकिन्न । यही प्रसंगमा एउटा कुरा विचारणीय हुन आउँछ, हामीकहाँ मान्छेले गरेको भन्दा ट्राफिक बत्तीले गरेको सडक व्यवस्थापन बढी प्रभावकारी र सुरक्षित सिद्ध भएको छ ।
अर्को कुरा, हामीकहाँ चालक इजाजतपत्र पाउन अत्यन्त कठिन र लामो समयसम्म कुर्नुपर्ने अवस्था छ । चालकको व्यावहारिक एवं सैद्धान्तिक ज्ञान र दक्षताको राम्रो जाँच परीक्षा गरेर प्रमाणपत्र दिने कुरा उपयुक्त हो । तर दुर्घटनाको प्रकृति र अवस्थालाई हेर्दा चालकहरूबाट साधारण गल्ती र लापरबाही नै धेरै हुने गरेको पाइन्छ । दुर्घटनाको प्रकृति र अवस्थालाई विचार गर्दा कुनै अदक्ष सिकारुले मनपरी गाडी चलाएको जस्तो प्रतीत हुन्छ । लामो जाँच पडताल र परीक्षापछि दक्ष र योग्य ठहरिएकालाई चालक प्रमाणपत्र दिने गरिएको अवस्थामा यस्तो त्रुटि कसरी हुने गर्छ ? यो कुरा विचारणीय छ ।
यसका साथै हाम्रोजस्तो भौगोलिक विविधता र विकटता भएको मुलुकमा नियमित रूपमा गाडीचालक र गाडीको जाँच एवं अनुगमन आवश्यक हुन्छ । तर यसतर्फ पर्याप्त ध्यान दिन सकिएको पाइँदैन । दुर्घटनाका मुख्य कारणमध्ये लामो यात्रा गर्दा चालक थाकेर उँग्न पुगेको, मादक पदार्थ सेवन गरेको, आवेश र उत्तेजनामा गाडी चलाएको, अप्ठेरो ठाउँमा गाडी ओभरटेक गर्न पुगेको जस्ता मानवीय कारणका साथै गाडीको ब्रेक, गेयर, स्टेरिङजस्ता उपकरणले काम नगरेको आदि पाइन्छ । हाम्रो जस्तो भौगोलिक विविधता भएको मुलुकमा यस्ता विषयको नियमित जाँच अनुगमन गरेर आवश्यक कारबाही गर्ने परम्परा स्थापित गर्नसके दुर्घटना धेरै हदसम्म कम गराउन सकिन्छ ।
दुर्घटनाको अर्को महत्त्वपूर्ण कारण क्षमताभन्दा बढी यात्रु कोच्ने प्रचलन हो । हाम्रा वाहनहरूको क्षमता असीमित देखिन्छ । भित्र गाडीमा कोचाकोच गरिएका यात्रु उकुस–मुकुस भएर छट्पटाइरहेका हुन्छन् । तर खलासी भने ठूलो स्वरमा सिट खाली छ भनेर चिच्याइरहेको हुन्छ । अर्को विकल्प नभएकोले त्यस्तै उकुस–मुकुसको कोचाकोचमा यात्रा गर्न यात्रुहरू विवश हुन्छन् । दुर्भाग्यवश, दुर्घटना भएमा ठूलो ज्यानधनको क्षति हुने गर्छ ।
सार्वजनिक यातायातको यस्तो हालत छ भने सार्वजनिक शौचालयको अवस्था झनै दयनीय छ । खुला दिसामुक्त भनेर घोषणा गरे पनि सहर–बजारमा शौचालयको दुरवस्था बयान गरेर साध्य छैन । एकाध ठाउँमा भएका शौचालयको अवस्था हेर्दा भित्र प्रवेश गर्नसमेत गाह्रो हुने स्थिति छ । सार्वजनिक यातायात, सार्वजनिक शौचालय, सार्वजनिक स्वास्थ्यसेवा, सार्वजनिक आवास र सार्वजनिक खानपिनका स्थलहरूलाई आधारभूत आवश्यकताको रूपमा लिने गरिन्छ । तर यसतर्फ कुनै ठोस व्यवस्था र नियमन गर्नेतर्फ हाम्रो ध्यान जानसकेको छैन । यस्तो स्थितिमा हामी नेपाल भ्रमणवर्ष मनाउने तरखर गरिरहेका छौं । झन्डै २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षाका साथ प्रचार–प्रसारमा जुटेका छौं । यति ठूलो संख्यामा पर्यटक भित्र्याउनका लागि के कस्ता आधारभूत सुविधा र साधनस्रोत जुटाउनपर्ने हुन्छ । हाल भएका पूर्वाधार र साधन सुविधाको अवस्था कस्तो छ भन्नेतर्फ समुचित ध्यान गइरहेको देखिंँदैन । हाम्रो जस्तो प्राकृतिक सौन्दर्य, भौगोलिक एवं सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदा र साहसिक मनोरञ्जनका साधन भएको मुलुकका लागि २० लाख पर्यटक भित्र्याउने लक्ष्य त्यति कठिन देखिँंदैन । तर पर्यटकहरूको बसाइलाई सकेसम्म लम्ब्याएर सुखदपूर्ण बनाउन सकिएन भने यसबाट पर्याप्त लाभ हासिल गर्न कठिन पर्ने कुरा पनि त्यत्तिकै सान्दर्भिक छ । हामीले ठूलो महत्त्वाकांक्षा राखेका छौं । तर आत्मसमीक्षा गर्नु जरुरी छ । के हाम्रा तयारीहरू लक्ष्य अनुरुप छन् ? अन्यथा जगहँसाइ हुन बेर छैन । पर्यटकहरूले खाल्डाखुल्डी सडक, अव्यवस्थित सार्वजनिक यातायात, आधारभूत सार्वजनिक सुविधाको अभाव, फोहोर–मैलाको डंगुर, अस्वस्थकर खाद्य पदार्थ, बाटा–बाटामा घेरेर माग्ने र सामान बेच्नेहरूको दुर्व्यवहार र यस्तै दुःखदपूर्ण बसाइको नमिठो अनुभव लिएर फर्कनुपर्‍यो भने भ्रमणवर्ष कतिसम्म सार्थक होला ? बेलैमा ध्यान दिनु उचित होला । भ्रमणवर्ष त सुरु नै भइसक्यो । अब पनि नताते कहिले तात्ने !

कालीप्रसाद रिजाल

विविधा

मार्क्सवाद, प्रणाली र सत्ता

समय रेखा
- अभि सुवेदी

 

देशहरूका इतिहासका गति नाप्ने आ–आफ्नै तरिका हुन्छन् । हाम्रा आफ्नै छन् । सबैलाई छुने तरिकाहरूबारे निस्किएका सिद्धान्तहरू पनि छन् । एउटा विषय लिऊँ । कार्ल मार्क्सको सिद्धान्त के हो भन्ने कुरा मान्न कमिनिष्ट हुँ भनेर फुलेल हुँदै धन कमाउने धन्दामा लागिबस्नु पथभ्रान्त हुनु हो । मार्क्सलाई बुझ्नु भनेको तिनले भनेका इतिहास नाप्ने तरिकाहरू हिजो कति उपयुक्त थिए र आज कति उपयुक्त छन् भनेर बुझ्ने प्रयास गर्नु हो । तिनका सिद्धान्तले भनेका कुराले हेर्दा अहिलेका केही घटना ठिक्क नमिले पनि तिनका मानकलाई लिएर व्याख्या हुने गरेका छन् । विश्वमा अहिले मार्क्सका सिद्धान्तलाई मानक बनाएर हेर्दा केही कुरा भेटिन्छन्, जुन अनेकौं उदाहरणबाट देख्न सकिन्छ । एउटा ‘रिपोर्ट’बाट सुरु गर्छु । त्यसमा मार्क्सका सिद्धान्तको प्रयोग भएको छ र उनका भनाइ यहाँ नौलो सन्दर्भमा मानक भएर आएका छन् ।
ब्रिटेनको पत्रिकाद इकोनोमिस्ट (१६ जनवरी २०२०) को अङ्कमा एउटा शीर्षकले एक्कासी तानिएँ । शीर्षक तीन शब्दको छ, ‘ह्यारी, मेघन र मार्क्स’ जुन आफूलाई मनपर्ने शैली हो । भर्खरैको लेखको तीन शब्दे शीर्षकमा पनि ‘मार्क्स’ प्रयोग गरेको थिएँ । द इकोनोमिस्टमा महारानी एलिजाबेथका नाति ह्यारी र उनकी पत्नी मेघनका राजकीय पहिचान छाडेर आमनागरिक भएर बस्ने योजनाबारे लेखिएको छ । त्यसमा कम्युनिष्ट घोषणापत्रमा पुँजीवादले सामन्ती पद्धतिका सबै अवशेषहरूलाई ध्वस्त पार्नेछ भनेर लेखिएको भए पनि ब्रिटेनको राजतन्त्रले भने विपरीत वर्गमा बाँडिएर अल्मलिएका शक्तिका स्रोत जनतालाई ‘ग्लु’ वा टाँस्ने तत्त्व भएर जोड्ने काम गरेको देखाएको छ । यसले सामन्तवादपछि पुँजीवाद आउँछ भन्ने कुरालाई उल्टो गरिदियो । तामझाम, ‘रोमान्स, रहस्य र नाटक’ दिएर राजतन्त्रले ब्रिटिस जनतालाई पुँजीवादको यन्त्रको पार्टपुर्जा हुनबाट जोगाएको छ । ह्यारी र मेघनले भने मार्क्सको भनाइ सत्य सावित गर्नै आँटेको अवस्था छ । राजतन्त्रको ‘मोडर्निटी’सँगको तालमेललाई उनीहरूले भत्काउन लागेका छन्, किनकि उनीहरू स्वतन्त्र भएर व्यक्तिगत कमाइ गर्न चाहन्छन् । यसो गरेर उनीहरू राजतन्त्रको घरभित्र नै पुँजीवाद प्रवेश गराइदिन चाहन्छन् । उनीहरू पुँजीवादको अत्यन्त नयाँ रूपको प्रयोग गर्न चाहन्छन् । यो पुँजीवाद राष्ट्रिय हुँदैन, वैश्विक हुन्छ, पक्का हुँदैन, ‘भर्चुअल’ हुन्छ । यसले बजारको निम्ति लगातार नयाँ फेसन र धार बनाइरहन्छ । मेघन मनोरञ्जन उद्योग–फिल्मकी मानिस हुन्, जसले प्रयोग गर्ने पुँजीवाद मार्क्सले भविष्यवाणी गरेजस्तै हुनेछ । ‘सबै पवित्र मानिएका कुरा अपवित्र पारिनेछन् । अनि जुन खँदिलो छ, त्यो पग्लिएर तरल हुनेछ ।’ पत्रिका भन्छ, ‘ससेक्स रोयल भन्ने ब्रान्ड यसो सुन्दा अलिक आलु भनेजस्तो सुनिए पनि त्यो हलिउडको स्टार धुलोले चम्किनेछ ।’ भनाइको सार छ, त्यो एक पुँजीवादी बजारमुखी कम्पनी हुनेछ, जसले बेलायती राजतन्त्रलाई नौलो चुनौती दिनेछ । यो ‘ससेक्स रोयल’ कम्पनीलाई ‘हिट’ बनाइराख्न र बढोत्तरी गरिरहन उनीहरूले ब्रिटिस राजसंस्थाबाट ‘भ्यालु’ वा मूल्य बारम्बार थुतेर लिइरहनेछन्, जसमा त्यहाँभित्रका जातिवाद, लैङ्गिक विभेदहरू पनि पर्नेछन् ।
मार्क्सका सिद्धान्त र प्रयोगमा आएका परिवर्तनको ठूलो उदाहरण चीन हो । पछिल्लो समयमा आएर चीनको पुँजी र बजारप्रधान प्रयोगले मार्क्सको घोषणापत्रको सिद्धान्तलाई त्यही लयमा प्रयोग गरेको छैन । एउटा भर्खरैको उदाहरणबाट हेर्छौं । नेपालका कतिपय कमिनिष्ट नेताहरूले अमेरिकी सहयोगको राशि इन्डो–प्यासिफिकसँग जोडिन सक्ने शंकामा यसमाथि बहस गरिरहेको र यो अमेरिकी सहयोग लिँदा चीनको दृष्टि हामीमाथि कस्तो होला भनिरहेको अवस्थामा आकर्षक व्यक्तित्व र बुद्धि भएकी चीनकी राजदूतले यो रकम लिनुहोस्, तपाईंहरूलाई यो धन चाहिन्छ, यसले काम दिन्छ भनेर भिडियो प्रसारणबाट बोलेको सुनेपछि मेरो मनमा अनेकौं कुरा खुले । जनवरी १६ कै वासिङटन पोस्टमा फरिद जकरियाले चीनको विषयमा भनेका कुरा मननयोग्य लागे । तिनले लेखेका छन्, ‘चीनले पश्चिमीहरूले सन् १९४५ देखि स्थापित गरेको खुला अन्तर्राष्ट्रिय मानकलाई मानेर नै आर्थिक अभ्यास गरिरहेको प्रस्ट छ । चीन अहिलेको रूसजस्तो पश्चिमी प्रजातन्त्रमाथि हस्तक्षेप गरिबस्ने रोग राज्य होइन । यो अहिले राष्ट्र संघलाई धन दिने दोस्रो शक्ति हो । यसले १९७९ देखि कुनै युद्ध गरेको वा छिमेकीहरूमाथि हमला गर्ने काम गरेको छैन, जसले गर्दा चीनले सुरक्षा परिषदको स्थायी समितिमा एक रेकर्ड नै कायम गरेको छ ।’ फरिदले यसमा मार्क्सवादी चीनको कुरा गरेका छैनन्, एक उत्तरदायी आर्थिक सम्पन्नताको कडी बोकेको राज्यको कुरा गरेका छन् ।
यी सबै उदाहरणको सार हो, नेपालको मार्क्सवादी सरकार, यसका दल, अनि समाजवादी हुँ भन्ने नेपाली कांग्रेसका सैद्धान्तिक र व्यावहारिक दायित्वमा केही समानता हुनुपर्ने हो । तर नेपालको उदाहरण अनौठो छ । राजनीति र समाजको परिवर्तन थोरै समयमा भएको उदाहरण हो, नेपाल । यसमा संलग्नहरू नै शासन चलाउने, प्रतिपक्षमा बस्ने र आर्थिक कारोबार गर्ने जिम्मामा छन्, जुन स्वाभाविक हो । म ती सबै नरनारीलाई सम्मान गर्छु । तर अहिलेको मुख्य डर भनेको संविधानको सहज र प्रभावकारी प्रयोग नहुने हो कि भन्ने हो । अर्को कुरा दिनदिनै विना कुनै रोकटोक बढिरहेको जसरी पनि धन कमाउने दौड हो, जसमा सबै उत्तरदायी नेता, सरकार र ठेकेदारका सञ्जाल पर्छन् । समग्रमा समय उत्साहजनक लाग्दैन । आफू शैक्षिक क्षेत्रको मानिस भएकोले त्यतातिर बढिरहेको बेथितिबाट झन् दुःखित भएको छु । यसबारे लेखिरहनु पर्दैन । यो सर्वविदित र सबैले भनिआएको विषय हो । तर किन कहीँ ठिक बाटोमा केही परिवर्तन हुँदैनन् ? त्यो जटिल प्रश्न भएको छ, नेपालमा ।
मुख्य समस्या नेपालमा समय अनुसार मूल्यहरू परिवर्तन हुन नसक्नु हो । सिद्धान्त एउटा व्यवहार अर्को हुने अहिलेको नेपालको चरित्र हो । एउटा घटना वाचाल छ । भर्खरैको संसदको सभामुखको विषयले जन्माएका एकाध कुरा उठाउन चाहन्छु । कैयौं राजनीतिमा काम गर्ने नेता वा बुद्धिजीवीहरूसँग चिनजान भएको, यिनीहरूमध्ये कति विगतमा आफ्ना विद्यार्थीहरू नै रहेको अनि आफू एक स्वतन्त्र मनुवा भएको कारणले मेरानिम्ति कोही सभामुख हुनु, प्रधानमन्त्री वा अरु केही हुनुसँग केही चाख छैन । तर भर्खरै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले देशको सबभन्दा महत्त्वपूर्ण संवैधानिक अंग संसदको स्वतन्त्रताको निम्ति दिएको अभिव्यक्तिलाई गलत अर्थ लगाइएको अनि अनाहक तिनले प्रश्नहरूको उल्टो सामना गर्नुपरेको अवस्थालाई हामी लिम्बुवानका मानिसहरूले ‘ह्युमिलिएसन’ गर्न खोजेको अर्थमा लिएका छौं । राष्ट्रिय तहमा नै कुरा गर्दा शिवमाया अहिलेको उद्बोधनको खडेरी पर्दै गएको नेपालमा एउटा प्रमेथियसको अग्निजस्तो चेतनाको अग्नि लिएर आइन् र मानौँ तिनले हेलिकन पहाडमा उठेर चेतनाको उद्घोष गरिन्— ‘यहाँ गहिरोगरी गाडिएको पितृसत्ता छ, जसलाई उखेल्न राजतन्त्र उखेल्नभन्दा गाह्रो रहेछ ।’ यो उनको आफ्नो लाभको निम्ति बोलिएको विषय थियो भन्ने गलत प्रचार पनि गरिए । यसरी हेर्दा उनको उद्घोषको अर्थ बुझिने छैन । एकछिन पनि संसदलाई नेतृत्वविहीन हुनदिन्न, मेरो दायित्व हो भन्ने उनको कुरालाई आज मूल्यहीन हुँदै गएको धन र लाभका पछि लागेको पुरुषसत्ताले कब्जा गरेको समाजले बुझ्न अत्यन्त आवश्यक छ ।
मेरो निम्ति शिवमाया आफ्नो त्यही ठाउँकी एक तुम्बाहाङ्फे महिला पनि हुन् । नेपालको राजनीतिमा तुम्बाहाङ्फेहरूको योगदान छ । म लिम्बुवानमा हुर्के–बढेको मानिस, मेरो गोधूली काव्यिक र महाकाव्यिक चेतनामा लिम्बु संस्कृति, लय, रंग, ध्वनि गान र कविताको प्रभाव छ । राजनीति भनेको चेतना हो र यो मानिसको कर्म हो, यसलाई मानिसको नैतिकताभन्दा पर लगेर हेर्नु हुँदैन भनेर मलाई सिकाउने गजेन्द्रबहादुर तुम्बाहाङ्फे हुन् । तेह्रथुम जिल्ला कमिनिष्ट पार्टीका सभापति विष्णुकुमार र मेरा कमिनिष्ट दाजु मित्रलालका गुरुसदृश थिए, गजेन्द्र दाइ । तर ती स्वतन्त्र चिन्तनका एक उदाहरण थिए । मैले ८८ वर्षका गजेन्द्रबहादुर दाइलाई २०६८ सालमा उनको निवासमा भेटेको अन्तिम थियो । कान्तिपुरमा लेखेँ । ती केही वर्षपछि दिवंगत भए । पितृसत्तासँग लड्ने विमला तुम्बाहाङ्फे दिदी उनकै बहिनी थिइन् । शिवमायाले संसदको मर्यादा राख्ने विषयमा एक्लै लड्दा एक शब्द पनि नबोल्ने कांग्रेसका महिला नेतृहरूलाई थाहै होला, विमला दिदी अत्यन्त अप्ठ्यारो र परिवर्तन कालमा नेपाली कांग्रेस तेह्रथुम जिल्लाकी सभापति थिइन् । तिनले २०४७ सालको परिवर्तनपछिको स्टेडियमको कांग्रेसको बृहत भेलामा दन्दनाएर भाषण गरेकी थिइन् । म सँगै थिएँ । नेपालको संसदका पहिला चुनाव जितेका कांग्रेसका तेजमान तुम्बाहाङ्फे दाइ ९५ वर्षको उमेरमा सक्रिय र सचेष्ट छन्, म्याङलुङमा ।
शिवमायाले भनिन्, ‘संवैधानिक पदमा रहने व्यक्तिमा स्वतन्त्र रहने साहस हुनुपर्छ ।’ उनको लडाइँ त्यही थियो । सभामुख प्रचण्डका मानिस हुन्छन् वा ओलीका त्यसमा शिवमायाको केही आग्रह थिएन । उनले संविधानसम्मत धैर्य गर अनि आफू निर्णय गरेर आओ भनेकी थिइन् । संवैधानिक स्थानमा रहने व्यक्ति स्वतन्त्र रहनुपर्छ भन्ने उनको आह्वान त्यस्तो नरहनेको निम्ति अबदेखि चुनौती भएको छ । त्यही आचरण भत्किँदै गएको देखेकी डा. शिवमायाको यो सन्देश एउटा घटना हो, लोकतन्त्रको ।

विविधा

इन्टरनेटसम्बन्धी मिथ्या ज्ञान

क्या फे गई घन्टाको ३० रुपैयाँ तिरेर इन्टरनेट चलाउँदै गर्दा यसरी इन्टरनेट घर–घर र हात–हातमा पुग्छ भनेर मैले सोचेको पनि थिइन । अचेल बिहान आँखा खुल्ने बित्तिकै मेसेज वा सामाजिक सञ्जाल चेक गरिन्छ । इन्टरनेट भएन भने कार्यालयको कामसमेत ठप्पै हुन्छ ।
यति भनिरहँदा सहर–बजारमा इन्टरनेटबारे अर्को विचार याद गर्दैछु । इन्टरनेटले बालबालिका र युवायुवती बिगार्‍यो भन्ने विषय जोडतोडले उठ्दैछ । इन्टरनेट आउनुअघि मानिसहरू बच्चाले टिभी धेरै हेरेर आँखा बिगारे, पढाइ खत्तम पारे भन्थे । अहिले त्यो दोष मोबाइल र कम्प्युटरलाई दिने गरेको पाइन्छ । कोही इन्टरनेटलाई नै बालविवाह बढ्नुको कारक तत्त्व पनि हो भन्छन् । सहर–बजार होस् या गाउँमा अभिभावकलाई आफ्नो बालबच्चा इन्टरनेटको कारण उनीहरूकै भाषामा भन्नुपर्दा ‘नराम्रो बाटो लाग्ला’ कि भन्ने ठूलो चिन्ता छ । अलि ग्रामीण भेगतिर गएर कुरा गर्नुभयो भने त झन् ‘यो फेसबुकले गर्दा केटीहरू सबै पोइल गए’ भन्ने गरेकोसम्म पनि सुन्न पाउनुहुन्छ । मैले चाहिँ आफू काम गरिहिँड्ने क्रममा यस्तो धेरै सुनेको छु ।
‘इन्टरनेट चलाएर बच्चा बिग्रियो’ भन्ने कुरा हामीले प्रायः मिडियामा पढेको र देखेको भरमा भनिरहेका हुन्छौँ । समाचारको शीर्षक नै अत्याउने खालको हुने गर्छ । त्यसो भएपछि मान्छेहरू आत्तिन्छन् नै । त्यस्ता समाचारले कति सत्यतथ्य बोलेको छ वा समाचार लेख्नेको व्यक्तिगत विश्लेषण मात्र हो कि भनेर धेरै नसोची विश्वास गरिहाल्ने हाम्रो बानी छ । फेरि समाचार आफ्नै सन्तानसँग सम्बन्धित भएपछि आत्तिने त भइनै हाल्यो । जबकि अभिभावकलाई आफ्नो सन्तानले इन्टरनेट केको लागि प्रयोग गर्दैछ भन्ने कुरा थाहा नहुनाले यस्तो डर पैदा हुने हो । झन् किशोर अवस्थाको सन्तान छ भने त इन्टरनेटमा कोसँग कुरा गर्दैछ, कसैले उक्साएर गलत काममा लाग्ला, हिंसा अथवा यौनहिंसामा पर्ला कि भनी प्रायः अभिभावकमा डर हुने गरेको पाइन्छ । कतिलाई इन्टरनेट चलाउने क्रममा प्रविधि र भाषाको ज्ञान नभएको हुनसक्छ । आफूले नदेखेको वा नजानेको कुरामाथि शंका लाग्नु स्वाभाविक पनि हो । यस्तै डरका करण देशका विभिन्न ठाउँमा इन्टरनेटको प्रयोगले नै हिंसा बढेको भन्दै विरोध कार्यक्रमहरू पनि भएका छन् । मिडियामा आउने समाचार पढेर त्यो डर अझ बढ्ने गर्छ । सरकारले महिला हिंसा बढ्नुमा इन्टरनेटको दोष देखाउँदै पोर्नसाइटहरू बन्द गरेको पनि एक वर्षभन्दा बढी भइसक्यो । यस्ता कदम भनेको अधिकारमुखी नभई संरक्षणमुखी हुन्छ र यसले समस्याको जरा पत्ता लाउनभन्दा सतही रूपमा क्विक फिक्स गर्ने बाहेक केही गर्दैन ।
अब एकछिनको लागि आफ्नो बाल्यकाल र युवावस्था सम्झिम् त । तपाईंहरूमध्ये कतिले कक्षाकोठामा शिक्षकले नदेख्नेगरी कागजमा चिट लेखेर साथीहरूलाई पास गर्नुहुन्थ्यो ? त्यो गर्नुहुन्नथ्यो भने घर बाहिर, सडक नजिक दगुर्ने, गुच्चा खेल्ने त गर्नुहुन्थ्यो । अथवा रुख चढ्नुहुन्थ्यो । अब यो सब गतिविधि पनि त जोखिमपूर्ण नै छ नि होइन ? रुख चढ्दा लढ्न सक्छ । घर बाहिर सडक नजिक खेल्दा गाडीले हान्न सक्छ वा अपहरणमा पनि पर्न सकिन्थ्यो नि । तर त्यस्तो जोखिम हुन्छ भनेर घरमै बस्नुपरेको भए हाम्रो बाल्यकाल कस्तो हुन्थ्यो होला ? त्यस्तै कागजमा चिट लेखी साथीलाई पास गर्दा तपाईंको अभिभावक र शिक्षकले तपाईंलाई ‘अरुसँग गोप्य रूपमा कुरा नगर’ भन्दा कस्तो लाग्छ ? यी कुरा भनेको तपाईको छनोट र गोपनीयतासँग पनि जोडिएका कुरा हुन् भनी हामीले ख्याल गर्नुपर्छ ।
चक्कु, चुलेसी चलाउँदा चोट लाग्छ भने त्यो चक्कु, चुलेसीको दोष होइन । चलाउने व्यक्ति अथवा बाहिरी वातावरण कारण हुनसक्छ । फेरि केही कुराको रोकटोक लगाउँदैमा रोकिन्छ भन्ने हुँदैन । इन्टरनेट चलाउनबाट बालबालिका र किशोरीहरूलाई रोक लगाउँदैमा उनीहरूले अर्को बाटो खोज्दैनन् भन्ने हुन्न । नियन्त्रण गर्नाले झन् जोखिममा पर्न सक्छन् भन्ने बुझ्नुपर्छ ।
अब एकछिन इन्टरनेटबारे कुरा गरौं । प्रायःको लागि इन्टरनेट फेसबुक, युट्युब, अनि भाइबर जस्ता एपहरूमा सीमित हुन्छ । तर इन्टरनेट सागर जतिकै फराकिलो छ । मनोरञ्जन र मेसेज गर्ने बाहेक यो सूचना, समाचार र स्वास्थ्यको जानकारी पाउने, अध्ययन गर्ने, आफ्नो विचार व्यक्त गर्न अनि आफूजस्तै विचार राख्ने समुदायसँग सम्पर्क राख्ने ठाउँ पनि हो । इन्टरनेटको मद्दतबाट सामाजिक आन्दोलन गर्न सजिलो भएको छ । उदाहरणको लागि गुठी विधेयक विरुद्ध हजारौं जनता सडकमा उत्रिए । अरुभन्दा पनि अहिलेको जमानामा सामाजिक अन्तरक्रिया गर्ने तरिका भिन्न भएको छ । अनलाइनमा हुने घटना र समाचारले हाम्रो दैनिक जीवनको सामाजिक अन्तरक्रियालाई सोझै असर पारेको हुन्छ । यदि तपाईं अनलाइन हुनुहुन्न भने धेरै विषयमा अनविज्ञ हुनसक्ने अवस्था छ । अध्ययनहरूले के पनि देखाउँछ भने इन्टरनेटको प्रयोग गर्ने बालबालिकहरू झन् रचनात्मक हुने, अनि यसले उनीहरूको क्षमता विकास हुन्छ.।
१८ वर्ष मुनिका सबै बालबालिकाको समूहभित्र पर्छन् । जसमा हरेक बच्चाको उमेर र परिवेश फरक हुन्छ । उसको आवश्यकता र स्वभाव फरक हुनसक्छ । त्यसैले सबै बालबालिका एकै खाले हुन्छन् र उनीहरूलाई एउटै नियमले काम गर्छ भन्ने हुन्न । सुरक्षालाई जोड दिने हो भने पनि के–के कुरामा मात्र ध्यान दिने त ? ध्यान दिएर पनि साध्य लाग्दैन । बरु बालबालिका र किशोर–किशोरीलाई आवश्यक जानकारीहरू पूर्णरूपमा दिने र उनीहरू आफ्नै हिसाबले सिक्न सक्ने कुरामा विश्वास गर्नुपर्छ । यसले उनीहरूको स्वनिर्णय गर्ने क्षमताको समेत विकास हुन्छ ।
पक्कै पनि महिला र बालबालिकाहरू अनलाइनमार्फत हुने हिंसाबाट बढी प्रभावित हुने गरेका छन् । यो भनेको हाम्रो सामाजिक संरचनाकै उपज हो । यसको मतलब उनीहरूलाई इन्टरनेट नै नचलाउ भन्नु भने गलत हो । फोन वा कम्प्युटर चलाउन बन्देज गर्नु गलत हो । उनीहरूको प्रविधि र इन्टरनेटमाथिको पहुँच रोक्नु समस्याको समाधान होइन । बरु इन्टरनेटलाई सुरक्षित तरिकाले प्रयोग गर्न सघाउने डिजिटल सेक्युरिटीका मापदण्ड अपनाएर अगाडि बढ्न दिने हो । त्यसैले नियन्त्रण नै सबै कुराको समाधान होइन । समाजमा यदि बालविवाह हुँदैछ भने त्यो इन्टरनेटका कारण नभई यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे सचेतनाको कमीले हुनसक्छ । त्यस्तै बालबालिकाको पढाइ बिग्रेको छ भने त्यो स्कुलको वातावरण अनुकूल नभएको कारण अथवा मानसिक स्वास्थ्यमा ध्यान नदिँदा भएको हुनसक्छ । पक्कै पनि आफ्नो सन्तान कुलतमा लाग्ला भन्ने चिन्ता प्रायः सबै अभिभावकलाई लाग्नु स्वाभाविक हो । यो उनीहरूको जिम्मेवारी पनि हो । तर चिन्तालाई चिन्तामा मात्र
सीमित नराखी यसलाई जति खुलारूपमा छलफल गर्न सकियो, त्यति नै यसको जरो पत्ता लाउन र समाधानको बाटो खोज्न सहज हुन्छ ।

शुभ कायस्थ

Page 7
विविधा

कोरोना भाइरस : सतर्क रहौं, आतंकित नबनौं

 

चीनको हुवेइ प्रदेशको हुवान सहरमा देखिएको चिनियाँ नयाँ कोरोना भाइरस संक्रमणले विस्तारै विश्वव्यापी रूप लिंँदैछ । विगत केही दशकका यस्ता अन्य भाइरल संक्रमणको इतिहास हाम्रो मनमस्तिष्कमा अहिले पनि घुमिरहेको बेला नयाँ संक्रमणको समाचारले समाजमा आतंक सिर्जना हुनसक्छ । हुन पनि एभियन फ्लु, स्वाइन फ्लु, सार्स, मेर्सजस्ता विश्वव्यापी संक्रमणले विभिन्न समयमा विभिन्न देशमा धेरैको ज्यान लिएकै हुन् । तथापि यो नयाँ भाइरसले जनमानसमा किन यति त्रास निम्त्याएको हो ? त्यो बुझ्नु जरुरी छ ।
कोरोना भाइरस एक प्रकारको हामीलाई लाग्ने साधारण रुघाखोकीदेखि यसअघि देखिएका घातक सार्स र मेर्स रोगहरूसँग जोडिएको छ । यसले फोक्सोमा असर गर्दै अन्य विभिन्न लक्षणसहित मृत्युसम्म गराउन सक्छ । यति भन्दै गर्दा हामीले यो कुरा बिर्सनु हुन्न कि प्रत्येक वर्ष संसारभर अर्को भाइरस परिवार जसलाई हामी इन्फ्लुएन्जा भनेर चिन्छौं, त्यसले पनि मानव ज्यान लिन्छ र धेरैलाई बिरामी गराउँछ । इन्फ्लुएन्जा भाइरस र कोरोना भाइरस दुई फरक परिवार हुन् ।
हालसम्मको तथ्य अनुसार नयाँ कोरोना भाइरस ६ भन्दा बढी देशमा देखापरेको छ । चीनमा मात्रै ८ सयभन्दा बढी बिरामी देखिएका छन् । अन्य देशमा पनि बिरामीको संख्या बढ्ने क्रममा छ । यस्तो रोगका बिरामी ठ्याक्कै यति नै छन् भनेर ठम्याउन गाह्रो हुन्छ । किनभने लक्षण र परीक्षणबाट मात्रै पहिचान हुन्छ । जसका लागि समय चाहिन्छ । त्यसमाथि यो रोग र साधारण अन्य रुघाखोकी–ज्वरोको लक्षण झन्डै–झन्डै उस्तै हुन्छन् । बेलायतको इम्पिरियल कलेजका अनुसन्धान टोलीले केही दिन अघिमात्र सार्वजनिक गरेको वैज्ञानिक आँकलनमा यो रोगले ८ हजारभन्दा बढीलाई संक्रमण गरिसकेको हुनसक्ने लेखिएको छ ।

तथ्य के कस्ता छन् ?
कोरोना भाइरसले यसअघि विभिन्न समयमा ल्याएको महामारी र हाल देखिएको चिनियाँ संक्रमणको प्रारम्भिक तुलना गर्ने हो भने अहिलेको भाइरस संक्रमण कमजोर देखिन्छ । रोग छिटो सरिरहेको त छ, तर रोगले मृत्यु निम्त्याउने क्षमता सार्स र मेर्सभन्दा निकै कम देखिन्छ । विश्व स्वास्थ्य संगठनले हालै जारी गरेको विज्ञप्ति अनुसार रोग लागेका र मृत्यु भएकाको अनुपात ४ प्रतिशत छ (१०० जना संक्रमितमा ४ जनाको मृत्यु हुनसक्छ) । यस अघि सार्स र मेर्समा देखिएको अनुपात क्रमशः १५ प्रतिशत र करिब ४० प्रतिशत थियो । यसैगरी इन्फ्लुएन्जा ए, एच ५ एन १ (एभियन फ्लु) मा यो अनुपात करिब ६५ प्रतिशत थियो भने इन्फ्लुयन्जा ए, एच १ एन १ मा १ प्रतिशतभन्दा पनि कम थियो । यस हिसाबले हाल देखिएको नयाँ कोरोना भाइरस कमजोर भन्न मिल्छ । हाल करिब २५ जनाको मृत्यु भएको तर तीमध्ये अधिकांश ७० वर्षभन्दा माथिका र अन्य रोगले संक्रमित भएको तथ्य बाहिर आइसकेको छ । जसले यो नयाँ भाइरसले सामान्य मानिसमा मृत्यु निम्त्याउन नसक्ने कुरा पुष्टि गर्छ । भाइरस छिटो वा ढिलो परिवर्तन भइरहन्छ र अझै कमजोर वा अझै बलियो हुनसक्छ । त्यसैले आउँदा दिनमा यो तथ्यांक परिवर्तन हुनसक्छ । हालको तथ्यांकले हामी आत्तिहाल्नुपर्ने अवस्थाचाहिंँ देखिन्न ।
केही दिनअघि विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अढ्नम घेब्रेसुसको अध्यक्षतामा यो संक्रमणबारे आधिकारिक धारण सार्वजिनक गर्न आकस्मिक बैठक बसेको थियो । साधारण अवस्थामा महामारी हुने शंका सिर्जना हुने देखिनासाथै यस बैठकले ‘पब्लिक हेल्थ इमर्जेन्सी’ घोषणा गर्छ । यो भनेको जनस्वास्थ्यलाई मध्यनजर गरेर संसारभरका सदस्य देशहरूलाई उच्च सतर्कता अपनाउनुका साथै निगरानी र नियन्त्रणका विभिन्न कार्य अघि सार्न निर्देशन दिने प्रक्रिया हो । तर तत्काललाई उसले यो कदम रोजेन र थप तथ्य र तथ्यांकको लागि समय माग्यो । आगामी दिनमा कुन निर्णय हुन्छ, त्यो हेर्न बाँकी छ । तर एउटा कुरा प्रस्ट छ– हाल देखिएको तथ्य अनुसार यो कदम जरुरी देखिएन । हुन पनि यसभन्दा अघिका महानिर्देशक डा. मार्गरेट च्यानले २००९ को एच १ एन १ महामारीमा ज्यादै छिटो इमर्जेन्सी घोषणा गरे जसले विश्व अर्थतन्त्रलाई नकारात्मक असर गर्‍यो । तर २०१५ मा एबोला महामारी ढिलो घोषणा गरेको र त्यसले धेरैको ज्यान गएको आरोप पनि आएको हो । त्यसैले हालको नयाँ कोरोना भाइरस संक्रमणबारे लिने निर्णयहरूमा विश्व स्वास्थ्य संगठनले विशेष सावधानी लिनु स्वाभाविक मान्न सकिन्छ ।

नेपालले आफूलाई कसरी तयार राख्ने ?
यो रोग नेपाल छिर्ने झन्डै–झन्डै पक्का छ । हामीकहाँ चिनियाँ पर्यटक साथै त्यहाँ पढ्ने नेपाली विद्यार्थी पनि धेरै छन् । उनीहरू हवाइमार्गबाट छिर्ने क्रम जारी थियो, छ र रहिरहनेछ । विमानस्थलमा निगरानी गर्न त्यति सजिलो छैन । जाडो मौसममा रुघाखोकी र ज्वरो लिएर आउने जोकोहीलाई यो नयाँ कोरोना भाइरस रोगी हो भनेर ठम्याउन सकिन्न । विमानस्थलको हेल्थ डेस्कले तत्काल गर्नुपर्ने एउटै काम हो– ज्वरो आएका सबैलाई पहिचान गरेर परीक्षणको लागि पठाउने र नतिजा नआएसम्म क्वारेन्टाइनमा राख्ने । हामीकहाँ छिटोछरितो परीक्षण र नतिजा उपलब्ध गराउने संरचना सरकारी स्तरमा छैन । साथै निजी स्तरम उपलब्ध संरचनाको सही उपयोग हुनसकेको छैन । अहिलेको आकस्मिक अवस्थामा सरकारी र निजी संरचना सबै परिचालन गर्ने हो भनेचाहिँं समयमै देशभित्र संक्रमण नियन्त्रण गर्न सकिन्छ ।
यस बाहेक आम नागरिकले हाल आत्तिहाल्नुपर्ने अवस्था छैन । सकेसम्म रोग देखिएका ठाउँ र मानिसबाट पर नै रहनु वेश हुन्छ । यदि यसो गर्न सकिन्न भने एन ९५ मास्क लगाउँदा संक्रमण सर्ने सम्भावना घट्छ । साथै जताततै नांगो हातले नछुने, हात धुने अथवा स्यानिटाइजर चलाउने जस्ता सावधानीका माध्यम अपनाउने गरेमा रोग सर्नबाट बच्न सकिन्छ । यो रोगका लागि खोप अथवा उपचार छैन । अधिकांश अवस्थामा कोरोना भाइरसले लाग्ने रुघाखोकी विरुद्ध मानव शरीरले आफ्नै जैविक प्रतिरोध क्षमताले आफैलाई ठिक पार्न सक्छ र अरु भाइरस संक्रमणजस्तै बालक, वृद्ध तथा अन्य रोग (जस्तै– एचआईभी, डायबिटिज, मृगौला रोग) भएकाहरूले विशेष सावधानी लिनु जरुरी हुन्छ ।
कोराना भाइरस अथवा कुनै पनि जीवाणुसँग जोडिएका रोगका संक्रमणबारे प्रारम्भिक समयमा सञ्चार माध्यमले पनि विचार पुर्‍याउनु पर्छ । तथ्यहीन अथवा सनसनीपूर्ण शीर्षकले आम नागरिकमा पुग्न जाने त्रासले नकारात्मक असर गर्न सक्छ । त्यसैले सबैले आआफ्नो क्षेत्रबाट संयमित भएर कामकार्य गर्नु जरुरी हुन्छ ।

समीरमणि दीक्षित

विविधा

छाउपडीको मानवशास्त्र

 

अफ्रिकी मुलुक तान्जानियाको एउटा रोचक लोककथाको सार छ— एक पटक वर्षायाममा ठूलो पानी पर्‍यो र खोलानाला निकै बढे । जताततै पानी–पानी भरियो । बाढी यस्तो आयो कि रूखको टुप्पामा पुग्न सक्ने बाँदर बाहेक सबै डुब्न पुगे । स्थिति साम्य भएपछि बाँदरहरूले तल जमिनमा हेरे र त्यहाँ माछाहरूलाई पानीमा पौडिरहेको देखे । एउटा लालबुझक्कड बाँदरले उसका साथीहरूलाई भन्यो, साथीहरू तल हेर, ती प्राणीहरू डुबिरहेका छन् । अरूले पनि होमा हो मिलाए । लालबुझक्कडले भन्यो, ‘सायद यिनीहरू पनि डुबे, किनकि यिनीहरूका खुट्टा रहेनछ । विचरा यिनले आफूलाई कसरी बचाउन् ?’ उनीहरूले ती माछालाई डुब्नबाट बचाउने निर्णय गरे । त्यसपछि बाँदरहरूले माछालाई पानीबाट एक–एक गरी झिकेर किनारमा राखे । एकछिनपछि त्यहाँ माछाको थुप्रो लाग्यो । एउटा उपबुज्रुक बाँदरले भन्यो, ‘हेर यी थाकेका थिए र अब आरामसाथ सुतिरहेका छन् । यदि हामी नभएको भए यी खुट्टा नभएका माछा सबै डुबेर मर्थे ।’ अर्कोले भन्यो, ‘होइन, यी सबै हामीबाट तर्किन खोजिरहेका छन् । किनकि यी माछाहरूलाई हामीले भलाइ गर्न खोजेको हो भन्ने थाहै छैन । जब यी ब्युँझिन्छन्, यिनीहरू हामीहरूप्रति आभारी हुनेछन् । किनभने त्यतिबेला यिनीहरूलाई थाहा हुनेछ कि हामीले यिनीहरूलाई मुक्ति दिएका छौं ।’ यो कथा अहिले निकै चर्चामा रहेको छाउपडी प्रथा र छाउगोठ भत्काउने अभियानसँग सान्दर्भिक लागेकोले यहाँ साभार गरिएको हो । यस सन्दर्भमा यस लेखमा कुरीति मानिएको छाउपडी प्रथा र यसलाई सम्बोधन गर्न गरिएको प्रयासहरूबारे मानवशास्त्रीय विश्लेषण गर्ने जमर्को गरिएको छ ।
महिनावारीलाई मानव संस्कृतिको एउटा प्राचीन संस्कारको रूपमा मानिन्छ । यससँग सम्बन्धित विश्वास र मूल्यहरू संस्कृति अनुसार फरक–फरक पाइन्छन् । त्यही विश्वास र मूल्यका आधारमा समाजहरूमा विभिन्न खाले अभ्यासहरू पाइन्छन् । यदि कुनै समाजमा महिनावारी भनेको अपवित्र अवस्था हो भन्ने विश्वास छ भने त्यसले विभिन्न बन्देजका प्रचलनहरू जन्माउँछ । त्यो मध्येको एक हाम्रो समाजमा रहेको छाउपडी पनि हो । मानवशास्त्रीय अन्तर–सांस्कृतिक अध्ययनहरूले (जस्तै बकले र गोटलिबको ‘ब्लड म्याजिक ः द एन्थ्रोपोलोजी अफ मेन्सट्रुएसन’) के देखाएका छन् भने महिनावारी सम्बन्धी निषेधहरू विश्वव्यापी सांस्कृतिक प्रचलन (कल्चरल युनिभर्सल) हुन् । केही संस्कृतिहरूमा यसलाई नकारात्मक रूपमा हेरिएको छ भने अन्यमा यो महिलाको सकारात्मक अनुभवको रूपमा रहेको छ । सकारात्मक रूपमा महिलालाई महिनावारी हुँदा एक विशिष्ट अवस्था प्राप्त हुन्छ, जहाँ महिला अनिच्छित यौनिक तथा घरेलु दबाब र जिम्मेवारीबाट मुक्त हुन्छिन् । अमेरिकाका चेरोकी नाम गरेका आदिवासी समूहमा रजस्वलाको भइरहेका अवस्थाका महिलाहरूलाई अत्यन्त पवित्र र शक्तिशाली मानिन्छ । यसैगरी अमेरिकाकै न्युयोर्क आदिवासी समूहमा पनि हाम्रो छाउपडीजस्तै घर नजिकै एउटा सानो झुप्रो बनाएर महिनावारी अवधिभरि महिला छुट्टै बस्ने प्रचलन छ । यी महिलाहरूले त्यसलाई धेरै सकारात्मक अनुभवको रूपमा लिन्छन् । दक्षिण एसियाकै कुरा गर्ने हो भने मानवशास्त्री ओ–वाइने मागीले उत्तर–पश्चिम पाकिस्तानको कलाशा उपत्यकामा गरेको अध्ययन अनुसार त्यहाँका महिलाहरूको सामुदायिक महिनावारी घर हुन्छ, जसलाई पुरुषहरूले पनि सम्मान गर्छन् । यस
घरले महिलाहरू बीचको लैङ्गिक एकतालाई बलियो
बनाउने स्थानको रूपमा कार्य गर्छ भन्ने निष्कर्ष उनले निकालेका छन् ।
माथिका अध्ययनहरूले के सङ्केत गर्छन् भने महिनावारीको अवस्थामा महिलाहरू अलग रहनु नै समस्या हो भन्ने निष्कर्ष सही नहुन पनि सक्छ । यद्यपि अनुभवले के देखाएको छ भने समाज जटिल हुँदै जाँदा र पितृसत्ता सुदृढ हुँदै जाँदा धर्मको आडमा महिनावारीलाई महिला दमनको एउटा महत्त्वपूर्ण हतियार बनाइयो । विकसित मानिएका समाज–संस्कृतिहरूमा पनि महिनावारी सम्बन्धी कुनै न कुनै निषेधहरू (ट्याबु) देखिन्छन् । संयुक्त राज्य अमेरिकामा गरिएको एउटा सर्वेक्षणमा (बिलिङ्स एन्ड एट्टिच्युड अफ योङ गर्ल रिगार्डिङ मेन्सट्रुयसन–विलियम, १९८३) अधिकांश वयस्क र किशोर–किशोरीहरूले महिनावारीलाई सार्वजनिक चर्चाका लागि अनुपयुक्त विषयको रूपमा बुझ्ने गरेको पाइयो । केटीहरूले केटाहरू र विशेषगरी पितासँग यस बारेमा कुरा गर्नु हुँदैन भन्ने धारणा पाइएको थियो । पछिल्लो एक अध्ययनमा (जस्तै थिंक्स भन्ने संस्थाले गरेको) अमेरिकामा ५८ प्रतिशत महिलाहरूले महिनावारीबारे लज्जा महसुस गर्ने गरेको तथ्य देखाएको छ (इन्डिपेन्डेन्ट, ३ जनवरी २०१८) । यी तथ्यले के देखाउँछन् भने महिनावारीसँग सम्बन्धित निषेध र विभेदहरू थोरबहुत सबै समाजहरूमा पाइन्छन् ।
हरेक सांस्कृतिक प्रचलनहरूका आफ्नै ऐतिहासिक, पारिस्थितिक र सामाजिक सन्दर्भहरू हुन्छन् । विश्वास र प्रचलनहरूका आ–आफ्नै आधारहरू हुन्छन् । हाम्रो आँखाले हेर्दा छाउ सम्बन्धी विश्वास गैरतार्किक र अन्धविश्वास लाग्लान् । तर त्यही समूहको विश्व–दृष्टिकोण र समग्र परिवेशसँग जोडेर हेर्‍यो भने यसको आशय र अर्थ बुझ्न सकिन्छ । कानुनी दण्डको त्रास भए पनि छाउ नछोड्नाको पछाडि पाप र धर्म, दण्ड र वरदानको जस्ता सांस्कृतिक अवधारणाहरू छन् । राज्यले धेरै गरे केही दिन पक्रेर राख्ला, जुन एक प्रकारले निश्चित अवस्था हो । तर उनीहरूका लागि देउता रिसायो भने कस्तो अनिष्ट हुनसक्छ, जसको जोखिम अनुमान गर्न सकिने खालको छैन । तसर्थ छाउलाई हाम्रो नभएर उनीहरूको आँखाले हेर्न र बुझ्न पनि आवश्यक छ । पवित्र–अपवित्र, कु–संस्कार, हिंसा, रूढिवाद आदि सापेक्षिक अवधारणाहरू हुन् । अर्को अर्थमा यी सामाजिक निर्माण (सोसल कन्सट्रक्ट) हुन् । सामान्यतया शक्तिशाली समूहहरूले यस्ता अवधारणको निर्माण गर्छन् र आफ्नो विचार र व्यवहारलाई असल र अर्कोलाई कमसल भन्ने ‘लेबल’ लगाउँछन् । छाउ र नछुने भएको बार्ने अभ्यास रूपमा फरक भए पनि सारमा लगभग एकै हो भन्न सकिन्छ । सम्भ्रान्तहरू महिनावारी बार्दा संस्कार हुने कमजोर समूहले अर्को तरिकाले त्यो अभ्यास गर्दा कुरीति हुने भन्ने तर्क जायज मान्न सकिन्न । मानवशास्त्रीय भाषामा यसलाई सांस्कृतिक–पूर्वाग्रह (एथ्नोसेन्ट्रिजम) भनिन्छ । तसर्थ सांस्कृतिक र सामाजिक न्यायको दृष्टिकोणमा छाउ प्रथालाई अपराधको रूपमा व्यवहार गरिनु उचित देखिन्न । यसको अपराधीकरणले यो समस्यालाई समाधान गर्ने नभई झन् जटिल बनाउन सक्छ । छाउगोठ भत्काउने, दण्डित गर्ने र राज्यका सुविधाहरूबाट वञ्चित गर्ने जस्ता कार्यहरू यो समस्याको दीर्घकालीन समाधान हुन सक्दैन । यसले महिलाहरूलाई झन् दोहोरो अन्यायमा पारिरहेको छ । एक हिसाबले ‘तावाबाट उफ्रेर भुंग्रामा’ भनेजस्तो अवस्था भएको छ । शताब्दियौंदेखि जरा गाडेर बसेको परम्परालाई उखेल्न त्यति सजिलो हुँदैन । छाउ प्रथा एक बहुआयामिक समस्या हो र यसलाई सम्बोधन गर्ने प्रयासहरू पनि बहुआयामिक हुन आवश्यक छ । सांस्कृतिक परिवर्तनहरू स्वचालित र योजनाबद्ध वा सचेत प्रयासबाट दुवै तरिकाले हुन्छन् । सचेत वा योजनाबद्ध परिवर्तन त्यतिबेला मात्र सहज र दिगो हुन्छ, जब त्यो सांस्कृतिक रूपमा संवेदनशील हुन्छ । यसको अर्थ छाउपडी समस्यालाई सम्बोधन गर्नका लागि पहिला यसलाई त्यसको सांस्कृतिक सन्दर्भमा बुझ्नुपर्छ र सुहाउँदो संस्कृति–मैत्री नीति र कार्यक्रममार्फत परिवर्तनका प्रयासहरू गर्न आवश्यक छ ।
छाउपडी जस्ता सांस्कृतिक अभ्यासहरूलाई सामान्यतया चेतनाको अभावले गर्दा भएको हो भन्ने मान्यता छ, जुन मूल रूपमा पश्चिमी विकासे अवधारणाबाट प्रभावित छ । निश्चय पनि शिक्षा र ज्ञान महत्त्वपूर्ण तत्त्वहरू हुन् र ज्ञान शक्तिको एउटा स्रोत पनि हो । तर त्योमात्र पर्याप्त छैन भन्ने कुरो सहरी छाउले पनि प्रमाणित गर्छ । छाउ लगायतका परम्पराहरू सम्बन्धित समाज र समूहको सामाजिक र आर्थिक बनोटसँग अभिन्न रूपमा जोडिएका हुन्छन् । कसैबाट नलुकेको तथ्य के हो भने छाउपडी त्यस्तो ठाउँमा जरा गाडेर बसेको छ, जुन हाम्रो देशको सबैभन्दा पछि पारिएको वा अति सिमान्तीकृत भूगोल हो । एक अर्थमा छाउको निरन्तरता ऐतिहासिक रूपमा हाम्रो समाजमा रहेको क्षेत्रीय, लैङ्गिक र आर्थिक विषमता र शोषणको परिणाम हो भन्न सकिन्छ । यो समस्याको जरो त्यहाँ रहेको चरम असमानता, भोक र गरिबीसँग जेलिएको छ । यस्तो सामाजिक विषमता र शोषणलाई भत्काउने सार्थक प्रयास नगर्नु, तर छाउगोठ भत्काउन तम्सनु भनेको छोटकरी बाटो खोज्नु र परोक्ष रूपमा जिम्मेवारीबाट पन्छिनु पनि हो । भौतिक छाउगोठ भत्काउन खासै रचनात्मकता र समय नलाग्ला । तर यसको सामाजिक र सांस्कृतिक जरो उखेल्न धेरै रचनात्मक प्रयासहरू र धैर्य आवश्यक छ । सामान्यतया माथिबाट थोपरिएका हस्तक्षेपहरूले समस्यालाई सम्बोधन गर्ने नभई यसको रूप बदल्ने र जटिलता बढाउने गरेको देखिन्छ । रोगको कारणको निदान नगरी लक्षणहरूको उपचारले मात्र यसलाई निको पार्न सक्दैन । पर्याप्त अनुसन्धान, योजना र विकल्पहरू बिना गरिएका परिवर्तनका प्रयासहरू असफल भएका उदाहरणहरू धेरै छन् । संरचनागत समस्याहरूको बोध, सांस्कृतिक संवेदनशीलता र सम्बन्धित समुदायहरूको सम्मानजनक सहभागिता सहितको अभियान आवश्यक छ भन्ने तथ्य राज्य र अन्य सरोकारवालाले जति छिटो बुझ्छन्, त्यतिनै छिटो यो समस्याको व्यावहारिक र दिगो समाधान सम्भव हुन्छ । अहिले विशेषगरी राज्यतर्फबाट बलपूर्वक गरिएका प्रयासहरूले कतै माथिको अफ्रिकी लोककथालाई चरितार्थ गरिरहेको त छैन भन्ने सवाल खडा गरेको छ ।

जनार्दन थापा
थापा पृथ्वीनारायण क्याम्पस, पोखरामा (चिकित्सकीय) मानवशास्त्र अध्यापन गर्छन् ।

विविधा

हिमालयमा 'महाखेल'

- रमेश के.सी.

 

दलाई लामा अहिले भारतको अरुणाचल प्रदेशदेखि कश्मीरसम्म मुख्य रूपमा फैलिएको हिमालय ग्रेट गेम अर्थात महाखेलका मुख्य खेलाडी हुन् । लामा सन् १९५९ मा तिब्बत छोडेपछि यस खेलको केन्द्रमा रहे । विशेष गरेर चीन, भारत र अमेरिकाबीच चलिरहेको यस खेलमा तिब्बती मूलका मानिसहरू बसोबास गर्ने भूटान, नेपाल, सिक्किम र स्वयं तिब्बत पर्छन् । तिब्बतका राजा तथा गेलुक्पा समुदायका धार्मिक नेताका रूपमा उनी अमेरिकी गुप्तचर संस्था सीआईएको सहयोगमा भारतको असम राज्यको तेजपुरमा शरणार्थीको रूपमा आएका थिए । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले उनलाई शरण दिए, जसबाट चीन रिसायो । यस अघि दलाई लामाले सन् १९५१ मा बेइजिङमा तिब्बतको शान्तिपूर्ण भूमिकाका लागि चिनियाँ सरकारसँग सम्झौता गरेका थिए, जसबाट तिब्बतमाथि चीनको सम्प्रभुता कायम छ भन्ने देखिन्छ । तत्कालीन भारतका लागि अमेरिकी राजदूतले सो सम्झौता दबाबमा भएको भन्ने वक्तव्य दिए मात्र दलाई लामालाई भाग्न सहयोग गर्ने बताएको कुरा भारतीय विदेश मामलाका जानकार तथा कूटनीतिज्ञ फुन्चोक स्टोबडानले बताएका छन् । उनको हालै प्रकाशित पुस्तक ‘दि ग्रेट गेम इन द बुद्धिष्ट हिमालय’ मा विशेष गरेर तिब्बत मामलामा भारत, चीन र अमेरिकाबीच रणनीतिक प्रभुत्वका लागि हुने प्रतिस्पर्धाको चित्रण गरिएको छ । दलाई लामालाई भारतले शरण दिए पनि नेहरूले एक चीनको नीति अँंगाले भने अमेरिकाले पनि औपचारिक रूपमा एक चीनकै नीति अँंगालेको छ ।
आखिरमा तिब्बत प्रश्न के हो ? यो यति पेचिलो छ कि जसका बारे चीन अत्यन्त संवेदनशील छ । भारतमा दलाई लामालाई धार्मिक गतिविधिमात्र गर्न दिने सर्तमा राखिएको छ । तर दलाई लामाले निर्वासित सरकार चलाइराखेका छन् । अमेरिकाले तिब्बत मामला विशेष गरेर धार्मिक स्वतन्त्रता र मानव अधिकारको प्रश्न उठाउने गरेको छ । नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेपछि आफ्नो सपथ ग्रहण समारोहमा निर्वासित सरकारका प्रधानमन्त्री लोभसाङ साङ्गेलाई बोलाए, चीनसँग सीमा विवाद रहेको अरुणाचल प्रदेशको थवाङमा दलाई लामालाई भ्रमण गराए । दलाई लामामात्र होइन, १७ औं कर्मापा उर्गेन थिन्ले दोर्जीले पनि थवाङ भ्रमण गरे । छैटौं दलाई लामा जन्मिएको अरुणाचल प्रदेश सम्पूर्णलाई चीनले दक्षिण तिब्बत भनी आफ्नो दाबी गर्दै आएको छ । तर भारतले ब्रिटिस इन्डियाले कोरेको सीमा म्याकमोहन लाइनलाई नै दाबी गर्दै आएको छ । यसरी हिमालयको महाखेल भारत–चीन सीमा विवादसम्म तानिन्छ । अरुणाचल प्रदेशमा भारतले केही छुट दिए अक्साई चीनको सीमा विवादमा चिनले सोच्ने कुरा प्रकाशमा आइसकेको छ । तर दुई वर्षअघि चीनको उहानमा नरेन्द्र मोदी र सी चिनफिङ बीचको वार्तापछि भारत तिब्बत कार्ड खेल्नबाट पछि हटेको छ । यस बैठकपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई
आफ्नो कार्यालयमा बोलाएर सम्झाएको थिए । जसबाट दलाई लामा गम्भीर र विचलित भएको उनका भाइ नेग्री रिम्पोचेले बताएको कुरा यस पुस्तकमा उल्लेख छ ।
वास्तवमा हिमालयमा महाखेल ब्रिटिस इन्डियाले तत्कालीन रूस विरुद्ध खेलेको थियो । ब्रिटिस इन्डिया हिमालय बारेमा पनि खेल खेल्न सकिन्छ भन्ने विश्वास गर्थ्यो । जसका लागि सन् १९०१ मा उसले ब्रिटिस अधिकारी योङ हसब्यान्डको नेतृत्वमा तिब्बत मिसन पठाएको थियो, जहाँ युद्ध भयो । यही ब्रिटिस इन्डियाको खेललाई सन् १९४७ पछि भारतले उत्तराधिकारीका रूपमा लिएको हो । जुन अहिले वर्तमान दलाई लामाको निधनपछि हुने १५ औं दलाई लामाको चयनमा केन्द्रित देखिन्छ । वर्तमान दलाई लामाले आफ्नो पुनर्जन्म वर्तमान चीनको भूभागभन्दा बाहिर हुने बताएका छन् । यसर्थ हिमालय क्षेत्रमा उनको पुनर्जन्म हुनसक्छ । अमेरिका तिब्बत प्रश्नलाई जीवितै राख्न चाहन्छ । हुन त डोनाल्ड ट्रम्प राष्ट्रपति बनेदेखि दलाई लामाले भेट्ने कार्यक्रम रोकिएको छ । उनी अमेरिकी विदेश नीतिको प्रजातन्त्र र मानव अधिकारको प्रश्नबारे रुचि त्यति नराख्ने भएकोले तिब्बत मामलामा अमेरिकी प्रशासनले केही गर्नसकेको छैन । तिब्बतको स्वतन्त्रताको प्रश्नलाई लिएर ७० को दशकमा अमेरिकाले तिब्बती गुरिल्लाहरूलाई प्रशिक्षण र हातहतियार उपलब्ध गराएको थियो । नेपालको मुस्ताङ पनि यो गुरिल्ला द्वन्द्वको चपेटामा पर्‍यो । तर १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनसँग सम्बन्ध सुधारेपछि यो क्रम रोकियो । तर अमेरिका अझ पनि तिब्बत र ताइवान जस्ता समस्याहरूबाट चीनलाई सताउन सकिन्छ भन्ने विश्वासमा छ । तिब्बत प्रश्न हिमालयमा कसको रणनीतिक प्रभुत्व हुने हो भन्ने विषय हो । चीन दलाई लामाको निधनपछि आफ्नो दलाई लामाको आविष्कार गर्न चाहन्छ । दलाई लामाले तिब्बतको स्वतन्त्रताभन्दा स्वायत्तताको कुरा उठाइरहेका छन् । तर चीन भने दलाई लामासँग वार्ताभन्दा उनको मृत्युलाई कुरेर बसिरहेको छ । यदि वर्तमान दलाई लामाको निधनपश्चात तिब्बत प्रश्नमा अरु दलाई लामाहरू प्रभावकारी हुन सक्दैनन् । वर्तमान दलाई लामा इतिहासका साक्षी हुन् । बाहिरी संसारमा आएर नोबेल शान्ति पुरस्कारसम्म पाए ।
एक अमेरिकी लेखकका अनुसार वर्तमान दलाई लामाले संसारलाई जिते, तर चीनसँग हारिरहेका छन् । हिमालयमा दलाई लामा गेलुक्पा सम्प्रदायका नेता हुन् । तर यहाँ प्रभावशाली ङिङमापा, कर्ग्युपा र साक्यपा सम्प्रदायहरू पनि छन् । यही क्रममा १६ औं कर्मपाको दुइटा पुनर्जन्म भएपछि १७ औं दुई कर्मापा थाए दोर्जी र उर्गेन दोर्जीको धार्मिक राजनीति पनि हिमालय महाखेलसँग जोडिन्छ । दुवै कर्मापाले फ्रान्समा भेटी आ–आफ्नो प्रतिस्पर्धाभन्दा पनि सम्प्रदायको बारेमा सोच्नुपर्ने बताउँदै आएका छन् । तिब्बतबाट भागेर आएका उर्गेनलाई चिनियाँ सरकार र दलाई लामाको समर्थन छ । दलाई लामाले निधनपछि कर्मापाको भूमिका महत्त्वपूर्ण हुने बताउँदै आएका छन् ।
हिमालय क्षेत्रमा तिब्बती बौद्धहरूका अन्तरसामुदायिक द्वन्द्व पनि छ । भूटान कर्ग्युपा साम्प्रदायलाई मान्ने राज्य हो । लेखकले हिमालयको महाखेलमा सन् १९९० मा भूटानबाट खेदिएका १ लाख नेपाली मूलका मानिसका बारेमा केही उल्लेख गरेका छैनन् । जुन हिमालय भित्रकै राजनीति थियो । दलाई लामालाई चिनियाँ सम्राटहरूको स्वीकृति र संरक्षणमा तिब्बतमा शासनको प्राधिकार दिएको कुरा उल्लेख गर्दै लेखकले तिब्बत प्रश्नमा दलाई लामा संस्थामात्र पूर्ण नहुने बताउँछन् । भारतको समकालीन तिब्बत नीति अमेरिकाहरूले ‘हाइज्याक’ गरेको बताउँछन् । वर्तमानमा तिब्बत प्रश्नमा अमेरिकी संलग्नता बढ्दै गएको तर भारतसँग ब्रिटिस इन्डिया जत्तिको हिमालय रणनीति नभएको टिप्पणी गर्छन् । सन् ९० मा सोभियत संघको विघटनबाट त्यस्तै परिवर्तन चीनमा आउने आशा राखेका थिए, दलाई लामाले । जुन तिब्बत मामिलामा आफ्नो अनुकूल हुनसक्ने अनुमान थियो । अमेरिकी प्रशासनले मानव अधिकार र प्रजातन्त्रमा जोड दिएकोले पनि उनी उत्साहित थिए । तर त्यस्तो भएन । तिब्बत प्र्रश्न ऐतिहासिक सम्बन्ध, दलाई लामा संस्थाको चीनसँगको अन्योन्याश्रित सम्बन्ध र भूरणनीतिक हिसाबले मंगोलियाको बौद्ध धर्मसँग दलाई लामाको सम्बन्धसँग पनि जोडिएको छ । यसर्थ आज हिमालयमा व्यापक परिवर्तन आएको छ । यो विशेष गरेर चीन र भारत बीचको सीमा विवाद, व्यापार सम्बन्ध र सुरक्षाको प्रश्नसँग जोडिएको छ । ७० वर्षअघि हिमालयमा चार राजतन्त्रहरू थिए ।
तिब्बत, नेपाल, सिक्किम र भूटान, सबैमा धर्मलाई पहिचान बनाउने राजाहरू थिए । तिब्बत १९५९ मा चीनमा समाहित भयो । सिक्किम जनमत संग्रहमार्फत सन् १९७५ मा भारतमा गाभियो । नेपाल हिन्दु राजाको शासन अन्त्य गरेर गणतन्त्रमा प्रवेश गर्‍यो । आज भूटानमात्र हिमाली तिब्बती बौद्ध धर्ममा आधारित राजतन्त्र छ । यी मध्ये एक दलाई लामाको शासन तिब्बतमा फर्कन कुनै सम्भावना अहिले देखा पर्दैन । शक्तिशाली हुँदै गएको चीन यो प्रश्नलाई आफ्नै ढङ्गले व्यवहार गर्न चाहन्छ । आज चीन र भारत मिलेर बौद्ध धर्मको संरक्षण विस्तारको योजना ल्याइरहँदा पनि हिमालयमा महाखेल अझै सकिएको छैन । ब्रिटिस इन्डिया सम्पूर्ण हिमालयलाई बफर भूमि सम्झन्थ्यो । तर सन् १९६२ को भारत–चीन युद्धपछि हिमालय क्षेत्र तनावग्रस्त बन्यो । अहिले भारत र चीन सम्बन्ध सुधारको क्रममा रहे पनि हिमालय क्षेत्र दुवै राष्ट्रको राष्ट्रिय सुरक्षा र भू–राजनीतिमा प्रमुख रूपले खेल मैदान भने बनेकै छ ।

Page 8
विदेश

'कश्मीरमा मध्यस्थता चाहिँदैन'

स्विट्जरल्यान्डको डाभोसमा आयोजित वर्ल्ड इकोनमिक फोरमको सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटमा अमेरिकी राष्ट्रपति ट्रम्पले जम्मु–कश्मीर विवाद अन्त्यका लागि मध्यस्थता गर्न तयार रहेको बताएका थिए
- सुरेशराज न्यौपाने
स्विट्जरल्यान्डको डाभोसमा आयोजित वर्ल्ड इकोनमिक फोरमको साइडलाइन भेटमा मंगलबार कुराकानी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खान (बायाँ) र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्बिर ः एपी

(नयाँदिल्ली) - भारतले जम्मु–कश्मीरको विवाद अन्त्यका लागि कुनै पनि मध्यस्थता स्वीकार नहुने बताएको छ ।
मध्यस्थता गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई लक्षित गर्दै भारतले यस्तो दोहोर्‍याएको हो । ‘कश्मीरका सम्बन्धमा हाम्रो अडान प्रस्ट र यथावत् छ । यो भारत र पाकिस्तानबीचको द्विपक्षीय मामिला हो । त्यसैले तेस्रो पक्षको भूमिकाको कुनै आवश्यकता छैन,’ भारतको विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रविश कुमारले बताए । कश्मीरमा हिंसा, त्रास र भयमुक्त वातावरण निर्माण गर्नुपर्ने जिम्मेवारीबाट पन्छिएर पाकिस्तानले उल्टो अतिरञ्जित प्रचार गरेको आरोपसमेत उनले लगाए । सिमला सम्झौता र लाहोर घोषणापत्रअनुसार दुई पक्षीय विषय दुई राष्ट्रबीच मात्र छलफल गर्नुपर्ने भनाइ उनको छ ।
स्विट्जरल्यान्डको डाभोसमा आयोजित वर्ल्ड इकोनमिक फोरमको सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटमा अमेरिकी राष्ट्रपति ट्रम्पले जम्मु–कश्मीर विवाद अन्त्यका लागि मध्यस्थता गर्न तयार रहेको बताएका थिए । उनले मध्यस्थताका लागि तयार रहेको बताएको यो चौथो पटक हो । ‘कश्मीरका कारण भारत र पाकिस्तानबीचको टकरावपूर्ण सम्बन्धमाथि हामी छलफल र सहयोग गर्न तयार छौं । हामीले कश्मीरमा भइरहेका घटनालाई नजिकबाट हेरिरहेका छौ,ं’ पाकिस्तानी प्रधानमन्त्री खानसँगको साइडलाइन भेटमा ट्रम्पले मंगलबार भनेका थिए ।
भारतले गत अगस्टमा संविधानको धारा ३७० खारेज गर्दै उत्तरपूर्वी राज्य जम्मु–कश्मीरको विशेषाधिकार अन्त्य गरेको थियो । विशेषाधिकार खारेज गरेर भारतले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को विगतको प्रस्ताव र अन्तर्राष्ट्रिय कानुनको उल्लघंन गरेको आरोप पाकिस्तानले लगाउँदै आएको छ । विरोधस्वरूप विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उसले जम्मु–कश्मीरको मुद्दालाई उठाउँदै आएको छ । भारतले भने जम्मु–कश्मीरसम्बन्धी मुद्दा
आफ्नो आन्तरिक विषय भएको र अवस्था सामान्य हुँदै गएको दाबी गर्दै आएको छ ।
भारतले धारा ३७० खारेजीको निर्णयसँगै जम्मु–कश्मीरका प्रमुख राजनीतिज्ञलाई नजरबन्द गरेको र इन्टरनेट तथा टेलिफोनलगायतका अत्यावश्यक सेवा बन्द गरेको भन्दै अन्तर्राष्ट्रिय रूपमा उसको आलोचना पनि भइरहेका छन् । बचाउमा उसले सुरक्षा व्यवस्थाको दृष्टिकोणले यस्तो कदम चालिएको दाबी गर्दै आएको छ । संयुक्त राष्ट्र संघ र अमेरिका लगायतका मुलुकले जम्मु–कश्मीरमा यथाशीघ्र नागरिक शासन बहाल गर्न र सर्वसाधारणको जनजीवन सामान्य बनाउन दबाब बढाउँदै लगेपछि भने नयाँदिल्लीले मोबाइल र इन्टरनेटमाथिको बन्देजलाई क्रमशः खकुलो बनाउँदै लगेको छ । यद्यपि श्रीनगरलगायतका केही स्थानमा अझै ती सेवामाथिका रोक कायमै छ । त्यहाँ सार्वजनिक विद्यालय खुल्न सकेका छैनन् भने व्यापार व्यवसाय पनि ठप्प प्रायः छ ।
कश्मीर विवादका कारण विगत सात दशकदेखि भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । कश्मीरलाई लिएर यी दुई छिमेकीबीच तीनपटक युद्धसमेत भइसकेको छ । अहिलेसम्म ७० हजारभन्दा बढीको ज्यान गइसकेको छ । लाहोर घोषणापत्र र सिमला सम्झौताले कश्मीर विवाद भारत र पाकिस्तानबीचको आपसी विवाद ठहर गर्दै कुनै पनि मध्यस्थतालाई स्वीकार गर्दैन । बंगलादेश स्वतन्त्रपछि २ जुलाई १९७२ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानी राष्ट्रपति जुल्फिकर अलि भुट्टोबीच हिमाञ्चल प्रदेशको सिमलामा शान्ति सन्धिमा हस्ताक्षर भएको थियो । सोही सन्धिमै कश्मीर मुद्दालाई द्विपक्षीय मुद्दाका रूपमा स्थापित गरिएको थियो । त्यसैगरी, सन् १९९९ मा तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच पाकिस्तानको लाहोरमा भएको वार्तापछि जारी घोषणापत्रमा पनि सिमला सम्झौतालाई कार्यान्वयन गरिनेबारे प्रतिबद्धता जनाइएको थियो । विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बिहीबारको पत्रकार सम्मेलनमा तिनै सम्झौता र घोषणापत्र उल्लेख गरेका हुन् ।
यसैबीच, भारत सरकारले धारा ३७० खारेजी गरेपछि मात्र जम्मु–कश्मीरलाई भारतीय संघमा स्थायी रूपमा समावेश गर्न सकिएको हुँदा उक्त निर्णय फिर्ता लिन असम्भव रहेको दाबी गरेको छ । भारतको सर्वोच्च अदालतमा धारा ३७० खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइका क्रममा सरकारले जम्मु–कश्मीरको स्वायत्तता अस्थायी रहेको बताउँदै उक्त निर्णयको बचाउ गरेको हो । महान्यायाधिवक्ता केके वेणुगोपालले धारा ३७० खारेजी भारतीय राज्यहरूलाई एकीकरण गर्दै देशको अखण्डता जोगाउन भएको जिकिर गरेका छन् । धारा ३७० खारेजीविरुद्ध परेको रिटमामाथि सर्वोच्चको पाँच सदस्यीय संवैधानिक इजलासमा बुधबारदेखि सुनुवाइ सुरु भएको हो ।

विदेश

रातारात अस्पताल

- एजेन्सी
चीनको हुबेई प्रान्तस्थित वुहानको पश्चिमी क्षेत्रमा पर्ने एक गाउँमा बन्दै गरेको विशेष अस्पताल निर्माणस्थलमा काम गर्दै गरेका मेकानिकल उपकरण । तस्बिर ः एपी

 

बेइजिङ – चीनले नयाँ कोरोना भाइरस प्रभावितको उपचारका लागि तीव्र गतिमा छुट्टै अस्पताल बनाइरहेको छ ।
भाइरस उत्पत्ति भएको वुहानमा सय शय्याको अस्पताल भवन निर्माण भइरहेको हो । आउँदो सोमबारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अत्याधुनिक मेसिनहरूको प्रयोग गरिएको चिनियाँ पक्षले जनाएको छ । अस्पताल सहरबाट अलि पर रहेको ग्रामीण क्षेत्रस्थित ‘होलिडे कम्प्लेक्स’ मा निर्माण भइरहेको स्थानीय ‘चाङझियाङ दैनिक पत्रिका’ ले शुक्रबार लेखेको छ । अस्पताल पूरै प्रिफ्याबरिकेटेड भवन
हुने उसले जनाएको छ । २५ हजार वर्गमिटरमा भवन निर्माण हुनेछ ।
३५ डिगर र १० बुलडोजरसहित भवन निर्माण गर्ने अन्य सयौं मेसिन बिहीबार राति नै अस्पताल निर्माणस्थलमा पुगेको सो पत्रिकाले लेखेको छ । ‘विद्यमान मेडिकल स्रोतको अभावबाट आउन सक्ने समस्या समाधानका लागि यो अस्पताल निर्माण गर्न लागिएको हो,’ चाङझियाङले लेखेको छ, ‘प्रिफ्याबरिकेटेड भवन हुने हुँदा यो चाँडो निर्माण मात्रै हुँदैन खर्च पनि कम लाग्छ ।’
निर्माणस्थलमा आफ्ना सयभन्दा बढी कामदार खटिरहेको अस्पताल निर्माण गरिरहेकामध्येको एक कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले शुक्रबार बताएको छ । आफूले सक्दो गरिरहेको र सरकारले तोकेको मितिभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उसले जनाएको छ ।
भवन निर्माणका लागि आधार बनाउन हिलाम्मे माटोमा विभिन्न रंग लगाएका दर्जनौं डिगर र निर्माण सामग्री व्यवस्थापनमा कैयौं ट्रकले हतारमा काम गरिरहेको दृश्य राज्य सञ्चालित टेलिभिजनमा प्रसारण गरिएको छ ।
चीनमा सन् २००३ मा ‘सार्स’ का कारण कम्तीमा ८ सय मानिस मरेका थिए । नयाँ अस्पतालले सार्स प्रकोपसँग लड्दाको अनुभवलाई प्रयोग गर्ने उद्देश्य लिएको छ । त्यसबेला पनि बेइजिङले एक साताभित्रै उत्तरी गाउँमा ‘सिआताङ्सान अस्पताल’ निर्माण गरेको थियो । स्थापना भएको दुई महिनाभित्र उक्त अस्पतालले देशमा संक्रमित भेटिएकामध्ये १५ प्रतिशतको उपचार गरेको थियो ।
शुक्रबारसम्ममा नयाँ भाइरसका कारण २६ जनाको मृत्यु भएको र ८ सयबढी संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । अधिकांश संक्रमित चीनको हेबेई प्रान्तस्थित वुहान सहरकै भएको सरकारी अधिकारीहरूले बताएका छन् । यसैबीच, पहिलोपटक हुबेई प्रान्तबाहिर पनि दुईजनाको मृत्यु भएको जनाइएको छ ।
नयाँ भाइरसबाट बच्न चीनले यसअघि मानिसको आवतजावात बढी हुने केही सहरमा यातायात, सपिङ मल, मनोरञ्जन स्थललगायत ठाउँलाई बन्द गर्न आदेश दिएको थियो । बन्दको दोस्रो दिन शुक्रबार वुहानका अधिकांश सार्वजनिकस्थलमा मानिसको उपस्थिति अत्यन्तै न्यून रहेको छ । सार्वजनिक क्षेत्रमा मास्क लगाउन अनिवार्य गरिएको छ । घरमै बस्नुपर्दा अत्यावश्यक सामग्री चाहिने भन्दै ती सहरका मानिसले धेरै उपभोग्य सामान किनेपछि पसल र मलका र्‍याकहरू खाली भएको तस्बिर पनि सार्वजनिक भएका छन् । विमानस्थल, रेल स्टेसन र सबवे सबै बन्द गरिएका छन् भने प्रहरीले सहर भित्रने सवारीसाधानलाई जाँच गरिरहेका छन् । यद्यपि सडक सञ्जाल भने पूर्ण रूपमा बन्द गरिएका छैनन् । विद्यालयमा पनि विद्यार्थीको भेला नगर्न र बिदा दिन भनिएको छ ।
यसैबीच, भाइरसको उद्गमस्थल वुहानका अस्पतालमा बिरामीको घुइँचो लागेका कारण त्यहाँ औषधिको अभाव भएको छ । क्षमताभन्दा धेरै बिरामी रहेको भन्दै अस्पतालले फर्काएको केहीले सामाजिक सञ्जालमा लेखेका छन् । चीन सरकारले कति दिनसम्म सहर बन्द हुनेछ भन्नेबारे भने केही बताएको छैन । उता, एक महिनाकै अवधिमा विश्वका लगभग
दर्जन देशमा संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले पनि आपत्काल घोषणा गरेको छ । यद्यपि यसलाई अन्तर्राष्ट्रिय तहको महामारी नै भने उसले भनिहालेको छैन ।

विदेश

अन्धाधुन्ध गोली प्रहारबाट ६ को मृत्यु

- एजेन्सी
रोट आम सीमा सहरस्थित घटनास्थलको अनुसन्धान गर्दै प्रहरी । तस्बिर ः एपी

 

बर्लिन – जर्मनीको दक्षिण–पश्चिमी सहर रोट आम सीमा शुक्रबार एक बन्दुकधारीले अन्धाधुन्ध प्रहार गरेको गोली लागेर ६ जनाको मृत्यु भएको छ ।
गोली प्रहारबाट कैयौं घाइते भएको जर्मन प्रहरीले बताएको छ । सहरको रेल स्टेसननजिकै स्थानीय समयअनुसार शुक्रबार १२ बजेर ४५ मिनेटमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । घटनालगत्तै प्रहरीले शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार यस घटनामा एकजनाको मात्रै संलग्नता देखिन्छ ।
‘गोली लागेर ६ जनाको मृत्यु भएको छ र कैयौं घाइते भएका छन्,’ प्रहरी प्रवक्ता रुडल्फ बेहाल्मरले जर्मन प्रसारण संस्था एन–टीभीसँग बताए ।
‘एकजना मात्रै आक्रमणकारी रहेको हामीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएका छौं,’ उनले भने । उनका अनुसार आक्रमणकारी जर्मन नागरिक नै भएको र हताहत भएका केहीसँग उसको व्यक्तिगत परिचय रहेको खुलेको छ । पीडितमध्ये केही एकै परिवारको रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ । घटनास्थल म्युनिख सहरबाट १ सय ७० किलोमिटर उत्तर–पश्चिममा पर्ने अधिकारीहरूले बताएका छन् ।

विदेश

अमेरिकी सेना फिर्ताको माग गर्दै प्रदर्शन

- एजेन्सी
इराकको राजधानी बग्दादमा शुक्रबार आयोजित प्रदर्शनका सहभागी । तस्बिर ः एपी

 

बग्दाद – अमेरिकी सेना फिर्ताको माग गर्दै इराकको राजधानी बग्दादमा शुक्रबार हजारौंले प्रदर्शन गरेका छन् ।
इराकका प्रभावशाली धर्मगुरुले आह्वान गरेको ‘मिलियन–म्यान’ अर्थात् ‘१०
लाख मान्छे’ र्‍यालीमा सहभागीले अमेरिकी सेना आफ्नो देशबाट फिर्ता हुनुपर्ने माग गरेका हुन् ।
१० लाख मानिस भेला गर्ने भनिएको प्रदर्शनमा त्यतिको सहभागिता भने थिएन । बग्दादस्थित विमानस्थलमा यसै महिनाको सुरुवातमा गरिएको अमेरिकी हवाई आक्रमणमा इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि इराकमा अमेरिकाविरोधी भावनामा वृद्धि
भएको समाचार संस्था एपीले उल्लेख गरेको छ । बढ्दो अमेरिकाविरोधी भावनाकैबीच शुक्रबार हजारौं इराकमा प्रदर्शन गरेका हुन् ।
बिहानैदेखि राजधानी बग्दादमा भेला भएर प्रदर्शनकारीले अमेरिकाविरोधी नारासमेत लगाएका थिए । प्रदर्शनकारीमध्ये केहीले मध्यपूर्वमा अमेरिकी साझेदार इजरायलविरुद्ध पनि आक्रोश पोखेका थिए ।
इराकमा अमेरिकी सेनाको संख्या थप वृद्धि गरिएको छ । इराकी संसद्ले विदेशी सेनालाई देश छोड्न भने पनि अमेरिकाले सेनाको संख्यामा वृद्धि गरेको हो । इरानको चुनौती समाधान गर्न थप सेना इराक पठाइएको वासिङ्टनको दाबी छ । इरानसँग गत महिनाबाट अमेरिकाको तनाव वृद्धि हुनुपूर्व इराकमा मात्रै ५ हजार अमेरिकी सेना तैनाथ थिए ।
आफ्ना एक ठेकेदारको इरान समर्थित मिलिसियाको आक्रमणमा मृत्यु भएको भन्दै गत महिना अमेरिकाले मिलिसियाका शिविरमा आक्रमण गरेको थियो । आक्रमणबाट २० भन्दा बढी लडाकु मारिएपछि इरानसमर्थित इराकीले राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेका थिए । सो आक्रमणबाट अमेरिकी दूतावासमा क्षति पुगेको थियो । आक्रोशित अमेरिकाले इरानका उच्च सैन्य कमान्डर सुलेमानी बग्दादस्थित विमानस्थलबाट बाहिरिँदै गर्दा जनवरी ३ मा ड्रोन हमलामा मारिएका थिए । हमलामा सुलेमानीसहित इराकका केही मिलिसिया कमान्डर पनि मारिएका थिए ।
अमेरिकी आक्रमणको प्रतिक्रिया स्वरूप इरानले पनि इराकस्थित अमेरिकाका दुई सैन्य आधार शिविरमा आक्रमण गरेको थियो । यद्यपि सो आक्रमणबाट मानवीय हताहती भने भएन । सोही दिन राजधानी तेहरानमा युक्रेनी ध्वजावाहक विमान दुर्घटना भएको थियो । भूलवस मानवीय त्रुटिका कारण प्रहार गरिएको क्षेप्यास्त्र लागेर विमान खसेको भन्दै इरानले केही दिनपछि सार्वजनिक रूपमै माफी मागेको थियो ।
अमेरिका र इरानबीच पछिल्लो तनाव बढिरहेकै बेला शुक्रबार इराकमा आयोजना गरिएको वासिङ्टनविरोधी प्रदर्शनले थप समस्या उत्पन्न गराउन सक्ने अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरूले चेतावनी दिएका छन् । केही मत्थर देखिएको अमेरिका–इरान तनावलाई इराकमा शुक्रबार भएको प्रदर्शनले मलजल गर्न सक्ने अनुमान पनि गरिएको छ । इरानले पनि छिमेकी इराकबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने माग लामो समयदेखि राख्दै आएको छ ।

Page 9
स्वास्थ्य

के हो नोवल कोरोना ?

- अतुल मिश्र

चीनमा देखिएको निमोनिया बनाउन सक्ने नयाँ प्रकारको ‘नोवल कोरोना भाइरस’ संक्रमण नेपालमा समेत देखापरेको छ । चीनको बुहानबाट हालै देश फर्किएका एक नेपाली विद्यार्थीमा उक्त भाइरस देखिएको हो । प्रयोगशाला परीक्षण प्रतिवेदनमा उक्त भाइरस देखिएको हो । अस्पतालबाट स्वास्थ्य लाभ गरेर घर फर्किएका उनको स्वास्थ्य स्थिति हाल सामान्य छ ।
विशेषज्ञहरूले सुरुमा सामान्य संक्रमण देखिए पनि तीव्र गतिमा विकसित हुँदै जटिल अवस्थामा पुग्ने सम्भावना रहेको यो संक्रमणको तुरुन्त पहिचान गरेर छिट्टै र छुट्टै उपचार गर्नु अत्यावश्यक रहेको जनाएका छन् । यो भाइरसको संक्रमण हालसम्म चीन हुँदै नेपाल, दक्षिण कोरिया, जापान, थाइल्यान्ड, भियतनाम, सिंगापुर, संयुक्तराज्य अमेरिकासम्म देखापरेको छ ।
वैज्ञानिक नाम ‘२०१९–एन सीओभी’ भएको यस भाइरसको बढ्दो प्रकोपलाई दृष्टिगत गर्दै सरकारले चीनबाट आएका शंकास्पद ज्वरोका बिरामीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हेल्थ डेस्कमार्फत विशेष निगरानीसमेत थालेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का विज्ञहरूले यस भाइरसले हाल एक व्यक्तिबाट अर्को व्यक्तिमा समेत रोग सारिरहेको इमर्जेन्सी कमिटीको बैठकमा बिहीबार जनाएको छ । एक साताअघिसम्म चिनियाँ सरकारी अधिकारीहरूले जनावरबाट मानिसमा सरेको यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने स्पष्ट प्रमाण नरहेको बताउँदै आएका थिए ।
उसो त डब्लूएचओले हालसम्म चीन बाहिर एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरसको संक्रमण नसरेको समेत औंल्याएको छ । तर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावनालाई भने नकारेको छैन । जेनेभामा बिहीबार भएको उक्त बैठकबारे भर्चुअल प्रेसमिटमा काठमाडौंबाट कान्तिपुर संवाददातासमेत संलग्न थिए ।
‘यो एउटा जटिल स्थिति हो । हामीलाई अगाडि बढ्न अझ बढी जानकारीको आवश्यकता छ,’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रस अधानोम गेब्रियससले भने, ‘चीनमा हाम्रो (डब्लूएचओ) टोलीले स्थानीय विशेषज्ञ र अधिकारीहरूसँग मिलेर काम गरिरहेको छ ।’
नोवल कोरोना भाइरस हालै पत्ता लागेको नयाँ भाइरस रहेको औंल्याउँदै डा. टेड्रसले यो भाइरस सबैभन्दा पहिले देखिएको चीनको हुवई प्रान्तको वुहान सहरको समुद्री खाद्य बजारमा तुरुन्त एक्सन लिइएको समेत जनाए । उनले यस भाइरसलाई हाल अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य संकटकाल घोषित गर्नेजस्तो अवस्था नरहेको पनि बताए ।
इमर्जेन्सी कमिटीको दुई दिनसम्म जारी विशेष बैठकपछि समेत विशेषज्ञहरूबीच यसलाई सार्वजनिक स्वास्थ्य संकटकाल घोषित गर्ने विषयमा एक मत बन्न नसकेको हो । हाल यसलाई ‘ग्लोबल पब्लिक हेल्थ इमर्जेन्सी’ घोषणा नगरिए पनि जुनसुकै समयमा बदलिँदो परिस्थितिअनुसार यो संक्रमणबारे पुनर्मूल्यांकन गरिने औंल्याउँदै डा. टेड्रसले भने, ‘हाल यो चीनका लागि एउटा ठूलो जोखिम उत्पन्न संकट हो ।’
इमर्जेन्सी कमिटीका सदस्यहरूले एक मानिसबाट अर्कोमा सर्ने यस भाइरसको संक्रमणलाई रोक्नु नै हालको प्राथमिक मुद्दा रहेको समेत बताए । डा. टेड्रसको अनुसार, विश्वभरबाट नोवल कोरोनो भाइरसको ५ सय ८४ वटा प्रयोगशाला प्रमाणित केस डब्लूएचओले गरेको छ । यसमध्ये ५ सय ७५ केस र १७ वटा मृत्यु चीनकै छन् ।
‘मिडिया’ ले शुक्रबारसम्म डब्लूएचओले भन्दा बढी केस रिपोर्ट गरे पनि अझै ती केसहरू अनुसन्धानमा नै रहेकोले यसलाई प्रभावितको रूपमा उल्लेख नगरिएको बताए । श्वासप्रश्वाससम्बन्धी संक्रमण सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोमा (मर्स) भाइरसजस्तै यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सरिरहेको औंल्याउँदै विशेषज्ञहरूले ‘ब्रेक द चेन अफ ट्रान्समिसन’ (एकबाट अर्कोमा संक्रमण सर्ने कडीलाई तोडौं) लाई मुख्य आधार बनाउँदै नियन्त्रणको प्रयास जारी राखिएको बताएका छन् ।
हाच्छिउँ गर्दा, खोक्दा मुखबाट निस्किने पानीको स–साना थोपा (ड्रप्लेट) का माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिमा नोवल कोरोना भाइरसको संक्रमण सरिरहेको समेत इमर्जेन्सी कमिटीका विज्ञहरूले औंल्याए । उनीहरूले भने, ‘निकट सम्पर्कमा रहेका परिवार र स्वास्थ्य संस्थामा भाइरस प्रभावितबाट संक्रमण अर्को व्यक्तिमा सरिरहेको देखिएको छ ।’
यो भाइरसको म्युटेसन (उत्परिवर्तन) सम्बन्धी प्रश्नमा डब्लूएचओका विशेषज्ञहरूले वंशाणुगत विविधता (जेनेटिक डाइभर्सिटी) अन्तर्गत ठूलो परिवर्तन हालसम्म नदेखिएको जनाए । डब्लूएचओको समन्वयमा सरकारले चीनबाट आएका शंकास्पद रुघाको लक्षणसहित घाँटी दुखाइ, ज्वरोका बिरामीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हेल्थ डेस्कमार्फत निगरानीसमेत बढाएको छ ।
मुलुकमा भारतपछि सबैभन्दा बढी पर्यटक चीनबाट नै आउँछन् । अध्यागमन विभागको तथ्यांकअनुसार, सन् २०१९ मा चीनबाट १ लाख ५१ हजार २ सय चिनियाँ पर्यटक नेपाल आएका थिए । अझ अहिले चीनमा नयाँ वर्ष भएकाले जनवरी महिनाको तेस्रो सातादेखि मार्चसम्म उनीहरूले धेरै घुमफिर गर्छन् । चिनियाँहरू यही समयमा बढी मात्रामा नेपालसमेत आउने भएकाले विमानस्थलको हेल्थ डेस्कमार्फत थप निगरानी सुरु गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. विवेककुमार लाल बताउँछन् ।
छिमेकी राष्ट्र भारतको स्वास्थ्य मन्त्रालयले समेत नोवल कोरोना भाइरसको सम्भावित संक्रमणको आँकलन गर्दै आफ्ना विमानस्थलहरूमा चीनबाट आउनेहरूमा ज्वरो रहे/नरहेको बारे जान्न ‘थर्मल स्क्यानर’ बाट जाँच गर्न निर्देशन दिएको छ ।
वुहानबाट फर्केका नेपाली विद्यार्थीमा ज्वरोलगायतका लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अन्य बिरामीभन्दा छुट्टै चिकित्सकीय निगरानीमा समेत राखिएको थियो । ती शंकास्पद बिरामीको घाँटीको र्‍याल र रगतको परीक्षण गर्न गतबुधबार हङकङ पठाइएको थियो । रिपोर्टअनुसार, उनमा नोवल कोरोना भाइरस देखिएको हो । नेपालमा हालसम्म नोवल कोरोना भाइरस पहिचान गर्न प्रयोगशाला परीक्षण हुने गरेको छैन ।
ईडीसीडीका जेनोटिक र अन्य सरुवा रोग शाखा प्रमुख डा. हेमन्तचन्द्र ओझाका अनुसार, हाल विमानस्थलमा शंकास्पद बिरामी देखिए तुरुन्त क्वारेन्टाइन (अन्य व्यक्तिभन्दा अलग गर्नु) गरेर उपचार प्रक्रियामा लग्ने व्यवस्था मिलाइएको छ ।
खतरनाक कति ?
विशेषज्ञहरूका अनुसार, चीनमा देखिएर विश्वभर तीव्र गतिमा विस्तार भइरहेको नोवल कोरोना भाइरस धेरै खतरनाक रूपमा प्रस्तुत भइरहेको छ । हालसम्म कुनै विशिष्ट उपचार नभएको कडा निमोनियालगायतका स्वास्थ्यमा जटिलता ल्याउन सक्ने यो भाइरसले सामान्य रोगदेखि गम्भीर रोगसमेत लगाउन सक्छ ।
यो भाइरसको इन्फेक्टिभिटी रेट (संक्रामकताको दर), सिभियरिटी रेट (गम्भीरताको दर) र मर्टिलिटी रेट (मृत्युदर) समेत बढी देखिएको छ । ‘हालसम्म प्रकाशमा आएका विभिन्न तथ्यांक हेर्दा नोवल कोरोना भाइरसको विस्तारले गर्दा स्थिति भयानक हुन सक्ने देखिएको छ,’ त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास भन्छन्, ‘सार्स र मर्सको तुलनामा यसको सिभियरिटी रेट (संक्रमण भएपछि बिरामी गम्भीर अवस्थामा जान सक्ने दर) धेरै बढी छ ।’
हाल नोवल कोरोना भाइरस देखिएका सबै केसमध्ये करिब २५ प्रतिशतभन्दा बढी केस क्रिटिकल (नाजुक) अवस्थाका देखिएको औंल्याउँदै डा.दास भन्छन्, ‘स्वाइनफ्लु फैलिँदा सम्पूर्ण प्रभावितमध्ये एकदेखि डेढ प्रतिशत केस मात्र नाजुक हुने गरेको थियो ।’
डब्लूएचओका महानिर्देशक डा. टेड्रस अधानोम गेब्रियससले समेत नोवल कोरोना भाइरसबाट हालसम्म संक्रमित भएकाहरूमध्ये एक चौथाइले नाजुक बिरामी भएको अनुभूति गरेको बताए । यति मात्र नभई हालसम्म सार्वजनिक भएको तथ्यांकअनुसार, नोवल कोरोना भाइरस संक्रमणबाट हुने संक्रमकताको दर, गम्भीरताको दर र मृत्युदरसमेत बढी देखिएको उनले बताए ।
सार्सजस्तै कोरोना
वैज्ञानिक नाम ‘२०१९–एन सीओभी’ रहेको ‘नोवल कोरोना भाइरस’ यसअघि विश्वको कुनै पनि भागमा देखिएको थिएन । यो नयाँ भाइरसको ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ (सार्स) उत्पन्न गर्ने भाइरसकै एउटा प्रकार हो ।
कोरोना भाइरस विभिन्न भाइरसको एउटा समूह हो, जो मानिसलगायत स्तनधारी प्राणीको श्वासनलीसँग सम्बन्धित स्वास्थ्य समस्याहरू उत्पन्न गर्न सक्छ । इलेक्ट्रोन माइक्रोस्कोपमा यो भाइरस क्राउन (मुकुट) को आकारमा देखिने भएकाले यसको नाम कोरोना भाइरस रहेको हो । ल्याटिन भाषामा मुकुटलाई कोरोना भनिन्छ ।
धेरैजसो कोरोना भाइरस हानिकारक नभए पनि यसको सार्स र मर्स उत्पन्न गर्ने प्रकार मनुष्यको लागि खतरनाक मानिन्छ । चिकित्सा इतिहासअन्तर्गत मानिसमा पहिलो कोरोना भाइरस सन् १९६० मा सामान्य रुघाखोकीले ग्रस्त व्यक्तिको नाकमा पाइएको थियो । यसअघि सन् १९३७ मा जनावरमा पहिलो कोरोना भाइरस पक्षीमा संक्रमित ब्रोकाइटिस भाइरसका रूपमा पाइएको थियो ।
प्रतिरोधक क्षमता कम भए जोखिम
नोवल कोरोना भाइरसले उच्च रक्तचाप, मधुमेह, मुटु र रक्तनली सम्बन्धी रोग (कोरोनरी भास्कुलर डिजिज) लगायत शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूमा बढी कडा रूपमा देखिएको छ । संक्रमणले हुने मृत्युसमेत यस्तै व्यक्तिमा बढी देखिएको हो । डब्लूएचओका महानिर्देशक डा. टेड्रस अधानोम गेब्रियससले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।


अधिकांश संक्रमित ४० वर्ष माथिका हालसम्म यो भाइरस पाको उमेर भएकाहरूलाई कडा रूपमा देखिएको छ भने दुई तिहाइ संक्रमित पुरुष छन् ।
डब्लूएचओको तथ्यांकअनुसार, कूल संक्रमितमध्ये ७२ प्रतिशत ४० वर्षमाथिका छन् । यस्तै संक्रमितहरूमा ६४ प्रतिशत पुरुष छन् ।
भाइरस सर्पबाट आएको हो ?
विभिन्न मिडिया रिपोर्टमा नोवल कोरोना भाइरस सर्पबाट मानिसमा सरेको उल्लेख गरिए पनि हालसम्म यसबारे सही जानकारी आइसकेको छैन ।
डब्लूएचओले यो भाइरस सम्भवतः पशुबाट मानिसमा सरेको भए पनि कुन पशुबाट सरेको हो भन्नेबारे अझै स्पष्ट भइनसकेको जनाएको छ ।
डब्लूएचओका महानिर्देशक डा. टेड्रसले हालसम्म यो भाइरसको स्रोत थाहा हुन नसकेको बताए । ‘हामीले चीनको वुहानस्थित समुद्री खाद्य बजारलगायत प्रभावित क्षेत्रहरूका पशुबाट थुप्रै नमुना संकलन गरेका छौं,’ डब्लूएचओका विशेषज्ञहरूले बिहीबार जेनेभामा भएको पत्रकार सम्मेलनमा भने । उनीहरूले यो भाइरस सर्पबाट मनुष्यमा सरेको हो कि भन्ने प्रश्नको उत्तरमा भने, ‘हालसम्म यसबारे यथेष्ट प्रमाण छैन ।’
उपचार
यो भाइरसले संक्रमित भई जटिल अवस्थामा पुगेकाहरूलाई लाक्षणिक उपचार गरिन्छ । छाती रोग विशेषज्ञ डा. दासका अनुसार, यदि सास फेर्न असजिलो, एक सय डिग्री फरेनहाइटभन्दा बढीको तीव्र ज्वरो, बान्ता, पखालाजस्ता समस्या ४८ घण्टाभन्दा बढी समय देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।
डब्लूएचओका विशेषज्ञहरूका अनुसार, जटिल अवस्थाका संक्रमित व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी स्याहार र उपचारको आवश्यकता हुन्छ । जटिल अवस्थामा शरीरका धेरैजसो अंगले काम गर्न छोड्ने अवस्थासमेत आउन सक्ने भएकाले ‘मल्टिपल अर्गेन सपोर्ट’ चाहिन्छ ।

जोखिम न्यूनीकरण
- हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
- खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
- चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
- मासु र अण्डालाई पकाएर खाऔं
- जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं


कति खेर धुने हात ?
- खोक्दा वा हाच्छिउँपछि
- बिरामी व्यक्तिको स्याहार गरेपछि
- चर्पी प्रयोग गरेपछि
- हात फोहोर देखिएपछि
- बाहिरबाट घर आएपछि
- जनावर वा जनावरको फोहोर छोएपछि

स्वास्थ्य

फर्सीले कम गर्छ बुढ्यौली

- कान्तिपुर संवाददाता

सामान्य तरकारीका रूपमा प्रयोग गरिए पनि फर्सीका थुप्रै औषधीय गुण रहेको हुन्छ । गाउँघरदेखि सहरबजारसम्म प्रचलित फर्सीलाई वर्ष दिनसम्म पनि सुरक्षित राखेर प्रयोग गर्न सकिन्छ । हरियो, रातो, पहेलो, सेतो, सुन्तला रंगलगायतमा फर्सी पाइन्छ । विश्वभरि उपयोग हुने कारणले नै सेप्टेम्बर २९ तारेखमा पम्पकिन–डेसमेत मनाइन्छ ।
फर्सीमा ९० प्रतिशत पानी हुन्छ । यसलाई फलको श्रेणीमा समेत राखिन्छ । यो शरीरका लागि अत्यावश्यक फाइटोन्युट्रिन्टसको प्रमुख प्राकृतिक स्रोतमध्ये एक हो । यसको नियमित उपयोगले उमेरको प्रक्रियालाई समेत मत्थर गर्ने मानिन्छ ।
आहार विशेषज्ञहरूका अनुसार, फर्सी हृदयरोगीका लागि अत्यन्त लाभप्रद छ । यो कोलेस्ट्रोल कम गर्ने, चिसो बनाउने र मूत्रबर्धक मानिन्छ । यसमा प्रचूर मात्रामा रेसा (फाइबर) पाइन्छ । त्यसैले पेटको गडबडीमा समेत फर्सी फाइदाजनक छ । फर्सीले रगतमा चिनीको मात्रालाई नियन्त्रित गर्छ । यसले प्याक्रियाज/अग्न्यासयलाई समेत सक्रिय गर्छ । यसैले चिकित्सक मधुमेहका रोगीलाई फर्सी खाने सल्लाह दिन्छन् ।
फर्सीको रससमेत फाइदाजनक मानिन्छ । यसमा मुख्यतः विटा केरोटिन पाइन्छ । यसमा कार्बोहाइड्रेट, भिटामिन ‘ए’ एवं ‘सी’ र पर्याप्त मात्रामा खनिज लवण पाइन्छ । पहेंलो र सुन्तला रंगको फर्सीमा केरोटिनको मात्रा बढी हुन्छ । फर्सीको बियाँ फलाम, जिंक, पोटासियम र म्याग्नेसियमको राम्रो स्रोत हो ।

स्वास्थ्य

पारासिटामोल गर्भलाई खतरा

- कान्तिपुर संवाददाता

गर्भवती महिलाको लागि सुरक्षित ठानिने ‘पारासिटामोल’, औषधि गर्भमा रहेका शिशुका लागि खतरा सावित हुन सक्छ ।
एक अध्ययनअनुसार पारासिटामोल खानाले गर्भवती महिलाको बच्चालाई एटेन्सन डेफिसिटी/हाइपर एक्टिभ डिस्अर्डर, अटिज्म स्प्रेक्टम डिस्अर्डर हुने खतरा बढ्छ ।

Page 10
समाचार

डोजरले पुर्‍यायो अख्तियार

- कलेन्द्र सेजुवाल

(सुर्खेत) - जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी प्रदेश विकास परिषद्को बैठकमा सहभागी हुन वीरेन्द्रनगर आएका थिए । वीरेन्द्रनगरको एक होटलमा बैठक चलिरहेको थियो । उनी भने आफ्नै गाउँपालिकामा भएको ‘विकासको कमिसन’ बुझ्न बजारतिर हान्निए, जसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पार्‍यो ।
अख्तियारको टोलीले उनीसहित गाउँपालिका उपाध्यक्ष शिवा बस्नेतका श्रीमान् चन्द्रबहादुर बस्नेतलाई ८ लाख घूससहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता मेघनाथ सापकोटाका अनुसार टोलीले शुक्रबार दिउँसो करिब २ बजे कटकुवा हेल्थपोस्ट नजिकैबाट नियन्त्रणमा लिएको हो । ‘केसी र बस्नेतलाई समूहले कमिसन दिइसकेको थियो । त्यसैबेला हामीले नियन्त्रणमा लियौं,’ सापकोटाले भने, ‘घटनाको पृष्ठभूमिबारे छानबिन थालिसकेका छौं ।’
स्थानीयका अनुसार अध्यक्ष पक्राउ पर्नुमा त्यहाँको सडक निर्माण योजनामा भएको अयिमितता जोडिएको छ । आर्थिक वर्ष २०७५/७६ मा गाउँपालिकाले लामातडा–गर्खाकोट सडक निर्माण सुरु गरेको थियो । स्थानीय एक जनालाई उपभोक्ता समितिको अध्यक्ष बनाइयो । समितिले काम सुरु गर्‍यो, तर बीचैमा उक्त उपभोक्ता समितिलाई हटाएर कर्णबहादुर शाहीको अध्यक्षतामा अर्को उपभोक्ता समिति गठन गरियो । करिब ८० लाख बजेट रहेको उक्त सडकमा उपभोक्ताले नभई डोजरले काम गर्दा भुक्तानी विवाद चुलियो ।
सुरुको उपभोक्ता समितिले काम गरेबापत १३ लाख रुपैयाँ भुक्तानी लिइसकेको थियो । शाही अध्यक्ष रहेको उपभोक्ता समितिले पनि पहिलो चरणमा ४५ लाख र दोस्रो चरणमा २० लाख रुपैयाँ भुक्तानी लग्यो । पहिलोको नगद डोजर सञ्चालकलाई दिइयो । दोस्रो चरणमा लिइएको २० लाख भने समितिका पदाधिकारीले डोजर सञ्चालकलाई दिन आनाकानी गरे । बरु उल्टै ४५ लाखको चेकमा पनि दबाब दिएर सही गर्न लगाएको भनेर उपभोक्ता समितिका अध्यक्षले प्रहरीमा उजुरी दिएको एक स्थानीयले बताए । डोजर सञ्चालकले सडक रहेको वडाका अध्यक्ष राजबहादुर शाहीदेखि गाउँपालिका उपाध्यक्ष शिव आचार्य र अध्यक्ष केसीसँग भुक्तानीका लागि थुप्रैपटक अनुरोध गरे । ‘उनीहरूले सजिलै पैसा दिलाउनुको साटो उल्टै कमिसन माग्न थाले,’ जुनिचाँदेका ती स्थानीयले कान्तिपुरसँग भने, ‘त्यही लोभले उनलाई अख्तियारको फन्दामा पार्‍यो ।’
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनक पन्तले केही दिनअघि प्रहरीमा सडकको भुक्तानी विषयमा उजुरी परेको बताए । ‘त्यही सडक हो वा अरू कुनै सडक हो, एकिन भएन,’ उनले भने, ‘तर जुनिचाँदेकै विषयमा प्रहरीमा उजुरी परेको छ ।’ अख्तियारले केसी र बस्नेतलाई खुला सडकमै खानतलासी गरी मुचुल्का उठाएको थियो । मुचुल्का उठाउँदा वीरेन्द्रनगर–६ का वडाध्यक्ष मोतीप्रसाद कँडेल, ७ का वडाध्यक्ष ध्रुवप्रसाद चपाईं र ९ का वडाध्यक्ष सुरेश मानन्धरलाई साक्षीका रूपमा राखिएको छ । सडकमै जनप्रतिनिधिलाई आयोगको टोलीले नियन्त्रणमा लिएको दृश्य स्थानीयले भीड लागेर हेरेका थिए ।
यस्तै डुंगेश्वर गाउँपालिका–५ स्थित पीपलचौतारा माविको शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा अख्तियारले तीन जनालाई नियन्त्रणमा लिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीसहित पदमा छनोट भएका घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई नियन्त्रणमा लिइएको हो । निमावि तहमा सामाजिक विषयका लागि शिक्षक नियुक्ति प्रक्रियामा अनियमितता आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
परीक्षा हुनुअघि नै उत्तीर्ण गराउन चाहेको परीक्षार्थीलाई म्यासेन्जरमार्फत प्रश्नपत्र पठाइएको उजुरी आयोगमा परेको थियो । थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Page 11
अर्थ वाणिज्य

अनुगमन गर्दै, फाइल थन्क्याउँदै

- राजु चौधरी

(काठमाडौं) - दुई वर्षअघि सिमेन्ट र रडको मूल्य अस्वाभाविक बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले चार स्टिल र छ वटा सिमेन्ट उद्योगमा अनुगमन गर्‍यो । ती उद्योगले बढी मूल्य लिएको पाइएपछि बयान र मूल्य घटाउन विभागले निर्देशन दियो । निर्देशन पालना नगरेको भन्दै विभागले मुद्दा दर्ता गर्ने तयारी गरे पनि लगत्तै सेलाएर गयो ।


- गुणस्तरकै समस्या हेर्न भन्दै गत असारमा पनि विभागको टोलीले सर्लाही र झापाका सिमेन्ट उद्योगमा अनुगमन गर्‍यो । अनुगमनका क्रममा बोरामा मूल्यसूची नराखेको जनाउँदै केहीलाई जरिवाना गरेर थप बयानका लागि विभागमा उपस्थित हुन निर्देशन दियो । उद्योगीहरू विभागमा उपस्थित भएपछि यससम्बन्धी आक्रामक अनुगमनका क्रियाकलप नै अघि बढेन ।


- खानेपानी वितरण कम्पनीहरूमाथि उजुरी परेपछि विभागले गोदावरी र जोरपाटीका केही उद्योगमा अनुगमन गर्‍यो । केहीले पानी प्रशोधनबिनै बजारमा पठाउने गरेको भेटिएपछि अध्ययन सुरु गरेको फाइल बिनानिष्कर्ष थन्काइयो ।

अनुगमन गर्ने, मुद्दा दायर गर्छु भन्ने तर बिनानिष्कर्ष फाइल थन्काउने उल्लिखित केही उदाहरण मात्र हुन् । बजारमा मूल्य वृद्धि, गुणस्तरको विषयमा समस्या आउँदा विभाग आफ्नो अधिकारको विषयमा तात्छ तर केही समयमै सेलाउँछ । राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको प्रतिवेदनमा पनि मूल्य वृद्धिदर ६.५५ प्रतिशत रहेको देखिएको छ । तर बजार अनुगमन र मूल्य हस्तक्षेप गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने डाटा विश्लेषण गरेको भन्दै पन्छिएको छ । अनुगमन गरिएका फाइल पनि टुंग्याउन सकेको छैन ।
अनुगमन गरिएका फाइल समयमै टुंगो नलाग्दा विभागको नियतमा शंका उब्जिएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । ‘दुई वर्षदेखिको फाइल पेन्डिङमा छ । हालसालै चन्द्रागिरि, दराजलगायत ठूला व्यावसायिक घरानामा अनुगमन गरिए पनि निष्कर्षमा पुगेको छैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘फाइल त्यत्तिकै थन्काउनुले विभागको नियतमा शंका उब्जिएको छ । चलखेलको आशंका छ ।’ अर्का उपभोक्ताकर्मी उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको भनाइ पनि उस्तै छ । विभागको अनुगमनले सानालाई कारबाही र ठूलालाई उन्मुक्ति दिइरहेको उनको आरोप छ ।
सरकारसँग कार्ययोजना नहुँदा बजार अस्तव्यस्त भएको बानियाँको भनाइ छ । ‘बजारमा विकृति बढेको छ । तर विभागले केही गरेन । कार्ययोजना पनि छैन,’ उनले भने, ‘योजनाबिना गरिएको काम त्यस्तै हुन्छ ।’ चन्द्रागिरि हिल्स लिमिटेडले सञ्चालन गरेको केबलकारमा बढी शुल्क लिएको भन्दै विभागमा उजुरी परेको भन्दै गत कात्तिक १७ मा अनुगमन गर्‍यो । अनुगमन टोलीले सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशिन दियो । विभागले चन्द्रागिरिको अनुगमनपछि कुरिनटार र दोलखामा निर्मित केबलकारको पनि अनुगमन गर्ने जनाएको थियो । तर गरेन ।
अनलाइन सपिङ कम्पनी दराजविरुद्ध पनि कात्तिक २१ मा ठगीको उजुरी पर्‍यो । विभागले नक्सालस्थित दराजको कार्यालयमा अनुगमन गर्‍यो । दराजमार्फत एक थोक सामान अर्डर गर्दा अर्को सामान आइपुग्ने भन्दै उजुरी परेपछि अनुगमन टोलीले २४ घण्टाभित्र कागजातसहित उपस्थित हुन पुर्जी काट्यो । उक्त फाइल पनि अहिले त्यत्तिकै थन्किएको छ ।
दराजजस्तै अन्य अनलाइन सपिङ कम्पनीमा अनुगमन गर्ने बताएको थियो । तर अहिलेसम्म अनुगमन हुन सकेको छैन । कारबाहीका लागि ऐन कानुन अभाव भएको विभागका सूचना अधिकारी दीपक पोखरलले बताए । अनलाइन सपिङसम्बन्धी कानुन नहुँदा कारबाही प्रक्रिया बढ्न नसकेको उनको भनाइ छ । ‘थप कागजात मगाएका छौं, अहिले अनुसन्धान प्रक्रियामै छ,’ उनले भने ।
जानकारका अनुसार ठगीको हकमा विभागले तत्काल जरिवाना गर्न सक्छ । साना व्यावसायिक फार्ममा अनुगमन गर्दा तत्काल जरिवाना गरिएको छ । तर ठूला व्यावसायिक घरानामा तत्काल जरिवना नगर्नुले नियतमै खोट देखिने उपभोक्ताकर्मीको दाबी छ । विभागका पूर्वमहानिर्देशक कुमार दाहालको भनाइ पनि उस्तै छ ।

‘विगतमा उपभोक्ता संरक्षण ऐन, ०५४ अनुसार अनुगमनस्थलमै जरिवाना गर्ने व्यवस्था थिएन । अदालती प्रक्रिया पनि उस्तै झन्झटिलो थियो,’ उनले भने, ‘नयाँ ऐनमा पर्याप्त अधिकार छ । कानुनअनुसार दण्ड जरिवाना गर्न सकिन्छ । महानिर्देशक, अधिकृतले अनुगमनस्थलमै जरिवाना गर्न सक्छन् तर अनुगमन गर्न नसक्नु अक्षमता मात्र होइन, काम नगरेकै हो ।’
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने अनुगमनका लागि मापदण्ड बनाउने क्रममा रहेकाले प्रभावकारी नदेखिएको दाबी गरे । मापदण्डपछि गुणात्मक एवं रणनीतिक रूपमा अनुगमन गरिने उनको भनाइ छ । ‘सिमेन्ट र रडमा केही मूल्य बढेको छ । त्यसको डाटा विश्लेषणको काम भइरहेको छ,’ उनले भने, ‘ग्राहक भएर अनुगमनमा जान्छौं । सूचना प्रणाली र मापदण्डअनुसार अगाडि बढ्छौं ।’ सुवेदीले मापदण्ड बनाएर अनुगमन गर्ने बताए पनि जानकारहरू भने अनुगमन गर्नकै लागि नयाँ मापदण्ड नचाहिने बताउँछन् । अनुगमनकै लागि संयुक्त बजार अनुगमन निर्देशिका, उपभोक्ता संरक्षण ऐन/नियमावली भएकाले थप आवश्यक नपर्ने उनीहरूको दाबी छ । ‘मूल्य विश्लेषण बजारले देखाइसकेको छ । तरकारी प्रतिकिलो १ सय रुपैयाँभन्दा माथि छ । सबै क्षेत्रमा मूल्य वृद्धि हुँदा पनि विभाग त्यो क्षेत्रमा जान सकेन,’ विभागका पूर्वमहानिर्देशक दाहालले भने, ‘अनुगमन गर्न कार्यविधि कानुन पर्याप्त छ तर सरकारको उपस्थिति देखिँदैन ।’
बजार मूल्य संकलन एकदिनमै सकिने भए पनि डरकै कारण अनुगमन प्रभावकारी हुन नसकेको उनको तर्क छ । कर्मचारीहरू कालोसूचीमा पर्ने डरले काम गर्नेभन्दा पद जोगाउनेतर्फ लाग्दा बजारमा सुधार नभएको दाहालको दाबी छ । दुई वर्षअघि विभागले गाडी, अस्पताल र स्कुल क्षेत्रको अनुगमन गर्‍यो । त्यस क्रममा गाडीमा २० प्रतिशतभन्दा बढी मुनाफा राखेको, स्कुलमा विभिन्न अतिरिक्त शीर्षक राखेर शुल्क उठाएको, अस्पतालमा पनि सेवा शुल्क महँगो लिएको भेटियो । ठूला व्यावसायिक घरानाले समेत ठगी र कालोबजारी गरेको भेटिए पनि ती फाइलमा अहिलेसम्म केही प्रगति भएको छैन । तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेपछि विभागले विभिन्न जिल्लामा अनुगमन गर्ने र प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । पछिल्लो समय पाँच वटा प्रतिवेदन बनेका छन् । सबै प्रतिवेदनको निष्कर्ष छ– तरकारीमा पाँच तहसम्मको बिचौलिया । अहिले पनि प्रायः तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा बढी छ । तर बिचौलियाको तह घटाउने प्रयास अहिलेसम्म भएको छैन । बनेका प्रतिवेदन दराजमै थन्किएका छन् ।

अर्थ वाणिज्य

१५ पुलको ठेक्का अझै लागेन

नारायणगढ–मुग्लिङ सडक
- विमल खतिवडा

(काठमाडौं) - नारायणगढ–मुग्लिङ सडक विस्तार भएको दुई वर्ष हुँदासमेत पुल निर्माणले अझै पूर्णता पाएको छैन । दैनिक आठ हजारभन्दा बढी सवारी ओहोरदोहोर गर्ने यो खण्डमा १९ पुल निर्माण गर्नुपर्ने थियो । चार वटाको ठेक्का लागिसकेको छ भने तीन वटा पुल निर्माण भई सञ्चालनमा आइसकेका छन् । एउटा निर्माणाधीन छ ।
सडक दुई लेनको बने पनि जीर्ण एवं साँघुरा पुलले जाम हुने गरेको छ । साथै दुर्घटनाको जोखिमसमेत बढाएको छ । पुलका रेलिङ भाँच्चिदा मालवाहक ट्रक बढी मात्रामा दुर्घटनामा पर्ने गरेका छन् । सडक निर्माणकै क्रममा पुलको पनि काम गर्नुपर्नेमा अहिलेसम्म ठेक्कासमेत लागेको छैन । भौगोलिक जटिलताका कारण यो खण्डको प्राविधिकसहितको विज्ञ टोलीले पटकपटक अध्ययनसमेत गरिसकेको छ । चीनबाट आएको विज्ञ टोलीले समेत यहाँको भौगोलिक बनोट अध्ययन गरी कसरी निर्माण अघि बढाउने भन्ने विषयमा सुझाएको थियो । यो खण्डको मुग्लिङतर्फ सबैभन्दा बढी समस्या छ । यसतर्फ भीर बढी पर्ने र सडक पनि साँघुरो छ । ‘ठेक्का गर्न ढिला भएको हो, मूल्यांकनको काम नसकिएर यस्तो भएको हो,’ सडक विभागअन्तर्गत पुल महाशाखाका प्रमुख दीपक भट्टराईले भने, ‘मूल्यांकनको काम भइरहेकाले यो कामलाई चाँडै सकेर ठेक्का प्रक्रियामा जानेछौं ।’
महाशाखाले मूल्यांकन सकेपछि विभागअन्तर्गतको समितिले हेर्नुपर्छ । ‘कामको चापले गर्दा विभागीय समितिमा मूल्यांकन हुन सकेको छैन,’ उनले भने, ‘महाशाखापछि विभागका महानिर्देशकलाई सल्लाह दिने छुट्टै मूल्यांकन समिति हुन्छ, यो समितिबाट निर्णय हुनासाथ ठेक्का प्रक्रिया अघि बढ्नेछ ।’ एक महिनाभित्र ठेक्का हुने उनको दाबी छ । ‘प्राविधिक पक्ष हेर्न धेरै समय लाग्यो,’ उनले भने, ‘मूल्यांकनको काम सकिएको सात दिनभित्र सूचना निकाल्छौं ।’ पुल निर्माणको सुरुको स्टिमेट १ अर्ब ३० करोड रहेको महाशाखाले जनाएको छ । निर्माण सुरु भएकामध्ये जलवीरे पुल मात्र पूरा हुन बाँकी रहेको नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए । ‘यो पुलमा डिजाइनले गर्दा समस्या भएको हो,’ उनले भने, ‘अहिले कुनै समस्या छैन, चालु आवभित्र यसको निर्माण सकिनेछ ।’ मौरी, खानी र दासढुंगामा भने पुल निर्माण पूरा भई सञ्चालनमा आइसकेका छन् ।
खहरे, चिसेन्जी र तुइन खोलाका पुल भीरमा भएकाले यी स्थानमा पुल निर्माणको काममा बढी जोखिम रहेको इन्जिनियरहरू बताउँछन् । सबै पुलको ठेक्का एकैचोटि लगाएर निर्माण थालिनेछ । महाशाखाका अनुसार कन्ट्र्याक्टरले नै डिजाइन गर्ने गरी काम हुनेछ ।

Page 12
अर्थ वाणिज्य

कार्ययोजना पेस गर्न निर्देशन

मापदण्डविपरीत १८ पम्पलाई निगमको पत्र
- कान्तिपुर संवाददाता

(काठमाडौं) - नेपाल आयल निगमले सडक पेटी र छेउमै सञ्चालित १८ पम्पलाई हटाउन सम्बद्ध पम्प सञ्चालकलाई पत्र पठाएको छ । मापदण्ड नपुगेको र पम्पबाट ट्राफिक व्यवस्थापनमा समेत चुनौती भएको निगमले बिहीबार पठाएको पत्रमा उल्लेख छ । १५ दिनभित्र स्थानान्तरण कार्ययोजना पेस गर्न ती पम्पलाई भनिएको छ । ‘पम्प स्थानान्तरणको योजनासहित बिहीबार पम्पहरूलाई पत्र पठाएका छौं,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने, ‘पम्पहरूले हटाउने सन्दर्भमा १५ दिनभित्र आफ्नो योजना दिनुपर्छ ।’ प्रधानमन्त्री कार्यालयको पत्रपछि पम्पहरूलाई स्थान्तरण गर्न भनिएको उनले जनाए ।
चापागाउँमा रहेका बज्रवाराही, बालकुमारी र टीकाभैरव, कालिमाटीको कनक, बालाजुको कोत थुकु, थापाथलीको जयन्ती, थापागाउँको मायाराम भोलाराम, कलंकीको बाबा, श्यामा र त्रिशूल, कोटेश्वरको भ्याली रिकेश र कामाख्या, बौद्धको जुबी र बराल, जावलाखेलको साझा, एचपी इन्टरनेसनल, गायत्री र महाराजगन्जको सीता पेट्रोल पम्पलाई पत्र काटिएको उनले जानकारी दिए । पम्प सञ्चालकले पम्प हटाउने वा अहिलेकै स्थानबाट पछाडि सार्नुपर्ने निगमले जनाएको छ ।
मुलुकभर करिब १२ सय पेट्रोल/डिजेल पम्प सञ्चालनमा छन् । वागमतीमा मात्र १७२ छन् । उपत्यकामा मात्र ११७ पम्प रहेको निगमको तथ्यांक छ । तीमध्ये केही पम्प सडक पेटीमै सञ्चालित छन् । प्रायः पम्प मापदण्डभित्र पर्दैनन् । सुरक्षाका दृष्टिबाट ती पम्प संवेदनशील रहेको निगमको दाबी छ । यसअघि निगमले पम्पहरू मापदण्डअनुसार भए/नभएको सन्दर्भमा जाँचबुझ गर्न ०७४ पुसमा छानबिन समिति गठन गरेको थियो । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा गठित समितिले असुरक्षित पम्प अन्य स्थानान्तरण गर्न सुझाएका थिए ।
‘पम्पहरूका सन्दर्भमा लामो समयदेखि छलफल भइरहेको थियो । अहिले प्रधानमन्त्री कार्यालयबाट पनि पत्र आयो,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘पम्पहरूले अहिले भइरहेका टहरा भत्काएर स्पेस बढाउन सक्छन् ।’ निगमका अनुसार प्रधानमन्त्री कार्यालयबाट पुस ३० मा पत्र आएको थियो । प्रधानमन्त्री कार्यालयले पनि सहसचिवको संयोजकत्वमा छानबिन समिति बनाएर पम्पहरूबारे अध्ययन गरेको थियो । समितिले गरेको अध्ययनपछि मापदण्डविपरीतका पम्प हटाउन निर्देशन दिएको निगमको भनाइ छ ।
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएनका अध्यक्ष लीलेन्द्र प्रधानले भने पेट्रोलियम व्यवसायीसँग छलफल नगरी निगमले व्यवसायीलाई एक्कासि पम्प हटाउन चिठी पठाएको बताए । ‘ट्राफिक व्यवस्थापनमा अवरोध भए/नभएकोबारे सरकोवारवाला पक्षसँग छलफल गर्नुपर्थ्यो । कानुनी रूपमा लिइएको लाइसेन्स कसरी हटाउने ?’ उनले भने, ‘इन्धन अभाव हुँदा लाइन हुनु स्वाभाविकै हो ।’ सानो ठाउँमा मोटरसाइकलका लागि मात्रै तेलको व्यवस्था गर्दा ट्राफिकलाई समस्या नहुने उनले बताए । निगम स्थापना हुनुभन्दा अगाडिदेखि सञ्चालित पम्प पनि रहेको एसोसिएसनको भनाइ छ । सडक विस्तार भएपछि पम्पको जग्गा पनि साँघुरिएको छ । यस्ता कानुनी एवं व्यावहारिक पक्षलाई पनि हेर्न जरुरी रहेको उनले बताए । ‘१८ पम्पमा करिब २५ करोड रुपैयाँ बैंक लगानी छ । पम्प बन्द हुँदा ब्याज तिर्न सकिन्न, घर जान सक्छ,’ अध्यक्ष प्रधानले भने ।
निगमका कार्यकारी निर्देशक पौडेलले पनि केही कानुनी समस्या भएको बताए । त्यसका लागि अध्ययन भइरहेको उनको भनाइ छ । ‘दुई लेनको बाटो, सडक विस्तार भएको छ, त्यसले पम्पमा पनि केही असर पुगेको छ,’ उनले भने, ‘कानुनी समस्या छ । समाधानका लागि छलफल भइरहेको छ ।’ पम्प सञ्चालनकै लागि विभिन्न मापदण्ड बने पनि प्रायः पम्पले पूरै मापदण्ड नमानेको सरोकारवाला बताउँछन् । सरकारी निकायबाट प्रभावकारी अनुगमन र पम्पको मापदण्ड सम्बन्धमा निगम, गुणस्तर तथा नापतौल विभाग र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले निरन्तर अनगुमन गरिरहनुपर्छ । तर अनुगमन प्रभावकारी हुन सकेको छैन ।


निगमले पत्र काटेका पम्प

बज्रवाराही पेट्रोल पम्प, चापागाउँ
बालकुमारी पेट्रोल पम्प, चापागाउँ
टीकाभैरव डिजेल स्टोर, चापागाउँ
कनक पेट्रोल पम्प, कालिमाटी
कोत थुकु पेट्रोल पम्प, बालाजु
जयन्ती पेट्रोल पम्प, थापाथली
मायाराम भोलाराम पेट्रोल पम्प, थापाथली
बाबा पेट्रोल पम्प, कलंकी
श्यामा पेट्रोल पम्प, कलंकी
त्रिशूल पेट्रोल पम्प, कलंकी
भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
कामाख्या पेट्रोल पम्प, कोटेश्वर
जुबी पेट्रोल पम्प, बौद्ध
बराल पेट्रोल पम्प, बौद्ध
साझा पेट्रोल पम्प, जावलाखेल
एचपी इन्टरनेसनल, जावलाखेल
गायत्री पेट्रोल पम्प, जावलाखेल
सीता पेट्रोल पम्प, महाराजगन्ज

अर्थ वाणिज्य

किसानलाई ठगेको अभियोगमा पक्राउ

- कान्तिपुर संवाददाता

धनगढी (कास)– जागिर लगाइदिने भन्दै गठी गरेको आरोपमा एसोसिएसन अफ एग्रिकल्चर नेपाल नामक कम्पनीका सञ्चालक गणेशदत्त भट्ट पक्राउ परेका छन् । उनीविरुद्ध विभिन्न जिल्लामा कम्पनीका शाखा खोलेर जागिर लगाइदिने भन्दै ठगी गरेको उजुरी छ । भट्टलाई मंगलबार प्रहरीले धनगढीबाट पक्राउ गरेको हो । उनीमाथि विभिन्न जिल्लामा उजुरी आउने क्रम जारी रहेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘भदौतिर भट्टले ठगी गरेको उजुरी प्राप्त भएको थियो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले भने, ‘लेनदेन आकर्षित हुने खालको उजुरी हुँदा त्यति बेला उजुरी दर्ता नगरी भट्टको खोजतलास भइरहेको थियो ।’ अन्य जिल्लामा पनि प्रहरीले पीडित किसान खोजिरहेको उनले बताए ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ३५ वर्षीय भट्टलाई ठगी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको डीएसपी बस्नेतले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा सुरुमा बाँकेको कोहलपुरमा एसोसिएसन अफ एग्रिकल्चर नेपाल नामको संस्थाको कार्यालय स्थापना गरी भट्टले विभिन्न जिल्लामा शाखा विस्तार गरी आफ्नो अवैध धन्दा चलाएको पाइएको बस्नेतले बताए । कैलालीमा मात्र होइन, सुदूरपश्चिम प्रदेशका बैतडी, डडेलधुरालगायत जिल्लामा पनि उनीविरुद्ध धमाधम उजुरी परिरहेका छन् । ‘भट्टले सामान्य किसानदेखि पढेलेखेका युवालाई समेत आकर्षक जागिर लगाइदिने प्रलोभनमा पारी रकम ठगेको खुल्न आएको उनले जानकारी दिए । ‘प्रतिव्यक्ति ५० हजारदेखि २ लाखसम्म पछि फिर्ता हुने गरी धरौटी राख्नुपर्ने भन्दै रकम असुलेका उजुरी जिल्लाजिल्लाबाट आउन थालेका छन्,’ डीएसपी बस्नेतले भने ।

अर्थ वाणिज्य

पाम तेल समस्या समाधान वार्ताबाट

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पाम तेल निर्यातमा भारत सरकारले प्रतिबन्ध लगाएपछि नेपाल सरकारले द्विपक्षीय वार्ताबाट समस्या समाधान गर्ने भएको छ । उच्चस्तरीय समिति गठन गरी वार्ताबाट समाधान खोजिने अर्थमन्त्री युवराज खतिवडाले बताए । नेपाल समुद्रपार निकारी पैठारी संघको ४०औं वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले स्वदेशी उद्योगको संरक्षण गर्न आयातमा कडाइ गरिएको दाबी गरे । ‘निर्यातयोग्य उद्योगलाई विद्युत्, कर्जा र उत्पादन लागत केमा सहुलियत दिन सकिन्छ, त्यसमा छलफल गर्न सक्छौं,’ उनले भने ।
कार्यक्रममा निजी क्षेत्रले स्थानीय तहमा लाग्ने दोहोरो कर, विकास बजेट खर्च हुन नसक्नुका कारणबारे सरकारलाई सचेत गराएको थियो । ‘सरकार चुप लागेर बसेको छैन । बजेट खर्च भइरहेको छ, भुक्तानी मात्र नभएको हो,’ निजी क्षेत्रका जिज्ञासाबारे अर्थमन्त्री खतिवडाले भने, ‘समयमा भुक्तानी गर्न निर्देशन दिइसकेको छु । स्थानीय ऐन संशोधनको तयारीमा छौं । यसबाट जुन दोहोरो कर लागेको छ, त्यो हट्नेछ ।’ फौजदारी अपराधमा झैं सामान्य गल्तीमा सामान्य दण्ड सजायको विधि अपनाउनुको साटो व्यवसायीलाई जेल चलान गर्ने व्यवस्था उचित नभएको संघका अध्यक्ष हिमबहादुर रावलले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले गलत काम गर्नेहरूलाई सचेत गराउनुपर्ने बताए ।

अर्थ वाणिज्य

विद्युत् हब बन्दै त्रिशूली करिडोर

- कृष्ण थापा

(नुवाकोट) - विदुर ४ का मनोरथ श्रेष्ठले घरमा बिजुली बाल्न थालेको पाँच दशक भयो । त्रिशूली जलविद्युत् आयोजना बनेपछि सदरमुकाम विदुर र त्रिशूलीका स्थानीयले बिजुली बाल्न थालेका हुन् । उनी जस्तै वडा २ का रामकृष्ण पाण्डेले पनि बत्ती बालेको त्यति नै समय भयो । ‘त्यतिखेर त्रिशूलीमा पहिलो पटक बिजुली बल्यो,’ उनले भने, ‘बिजुली नुवाकोट डाँडामा बालियो ।’ जिल्लाभर बिजुली विस्तार भने ०४२ सालबाट सुरु भएको हो । ०२३ सालबाट उक्त आयोजनाले बिजुली उत्पादन गरी काठमाडौं पठाउन थालेको हो ।
त्रिशूलीको जडित क्षमता २४ मेगावाट रहे पनि यसले २१ मेगावाट दिँदै आएको छ । ०४० सालमा त्रिशूलीकै क्यास्केट परियोजनाअन्तर्गत देवीघाट १४ मेगावाट निर्माण भएपछि त्रिशूली नदीबाट उत्पादन हुने बिजुली ३५ मेगावाट पुग्यो । देवीघाट जलविद्युत् उत्पादन भएको १२ वर्षपछि नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको सहभागितामा ०५२ सालमा रसुवाको स्याफ्रुबेंसीमा चिलिमे जलविद्युत् आयोजना निर्माण सुरु भयो । चिलिमे रसुवा सदरमुकाम धुन्चेदेखि करिब २२ किमि दूरीमा पश्चिमोत्तर चिलिमे गाउँ नजिक बग्ने चिलिमे खोलाबाट पानी ल्याएर बिजुली उत्पादन गरिएको छ । यसले ०५८ सालमा व्यावसायिक उत्पादन थालेको हो । ०६२/६३ पछि त्रिशूली नदी बग्ने खोलामा जलविद्युत्को निर्माण गर्ने क्रम बढेको हो । यही वर्ष नेपाल विद्युत् प्राधिकरण मातहतमा रहेको ६० मेगावाटको त्रिशूली ३ ‘ए’ ले व्यावसायिक उत्पादन थाल्यो । चिलिमेको नेतृत्वमा १११ मेगावाटको रसुवागढी जलविद्युत् निर्माण अन्तिम चरणमा छ ।
चीनको सिमानामा पर्ने उक्त आयोजनाले छिट्टै व्यावसायिक उत्पादन थाल्ने जनाएको छ । रसुवागढी पूर्वपट्टि घट्टेखोला आयोजनाबाट ४ दशमलव ८ मेगावाट निर्माणको क्रममा छ । उक्त आयोजनाभन्दा अलिकति तल १२० मेगावाटको रसुवा भोटेकोसी जलविद्युत् शिलान्यास भएको छ । यो आयोजनाको पीपीएसमेत भइसकेको छ । चिलिमे भोटेकोसी ५२ मेगावाटको आयोजना पनि निर्माणको क्रममा छ । त्यसपछि चिलिमे जलविद्युत् २२ मेगावाट आउँछ । चिलिमेको बाँधभन्दा सिरानमा ७८ मेगावाटको क्षमताको सान्जेनखोला जलविद्युत् आयोजना निर्माणको क्रममा छ । यो जलविद्युत् आयोजनाका लागि सडक लैजाने काम हुँदै छ । त्यसभन्दा तल १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन र त्यसकै अर्को क्यास्केट परियोजना ४२ दशमलव ५ मेगावाटको तल्लो साञ्जेन निर्माण अन्तिम चरणमा छ । त्यही पानी पुनः चिलिमे जलविद्युत्मा आउँछ । पूर्वबाट बगेर भोटेकोसीमा मिसिने लाङटाङ खोलामा २० मेगावाट र अर्को माथिल्लो लाङटाङबाट २४ मेगावाट निर्माणकै क्रममा छ ।
१० मेगावाटको लाङटाङ जलविद्युत् आयोजना निर्माणकै क्रममा छ । १२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना पनि निर्माणको क्रममा छ । चिलिमे जलविद्युत् उत्पादन केन्द्रभन्दा तल १०२ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ आयोजना निर्माण हुँदै छ । रसुवा सदरमुकाम धुन्चे नजिक पर्ने गोसाइँकुण्डबाट झर्ने पानीबाट ४ दशमलव ४ मेगावाट क्षमताको त्रिशूली खोला आयोजना निर्माणाधीन छ । त्यसभन्दा तल २१६ मेगावाटको माथिल्लो त्रिशूली १ छ । यो आयोजनाले निर्माणाधीन विद्युत्गृह जाने मैलुङ खोलामाथि पक्की पुल निर्माण गरेको छ । बाँधस्थल हाकुगाउँको पुच्छरमा पुल निर्माण थालिएको योजना प्रमुख गिरिराज अधिकारीले जानकारी दिए । आयोजनाको पीपीए भइसकेको छ । आयोजनाले ठेक्का लगाएर निर्माणमा जाने तयारी रहेको उनले बताए । त्यसपछि त्रिशूली नदीमा मिसिने मैलुङ खोला आउँछ । मैलुङखोलामा तीन वटा विद्युत् आयोजना छन् ।
हाल ५ मेगावाटको मैलुङ खोला जलविद्युत्ले उत्पादन दिइरहेको छ । यो आयोजना ०५८ सालमा सुरुवात गरिए पनि सडक निर्माणको ढिलाइले आयोजना धकेलिएको थियो । ०७१ सालको अन्तिममा विद्युत् उत्पादन थालिए पनि बाढीपहिरो र भूकम्पले क्षति पुर्‍याएको थियो । त्यसपछि यही खोलामा १४ दशमलव ३ मेगावाटको अपर मैलुङ आयोजना निर्माण थालिएको छ ।

अर्थ वाणिज्य

जोयको विजेता घोषणा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– जोयले ‘बिग ब्याङ’ योजनाको विजेता सार्वजनिक गरेको छ । ताल्छीखेलका सोमकुमार राई, महाराजगन्जका रामकाजी र बानेश्वरका रोजिन प्रधानसहित अन्य १५ जनालाई जोयले बुधबार पुरस्कार प्रदान गर्‍यो । जोयले आफ्नो उत्पादन हनी एन्ड आलमन्ड लोसनलाई बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले बिग ब्याङ योजना ल्याएको थियो ।

अर्थ वाणिज्य

'सूचना प्रविधिले ल्याउँछ परिवर्तन'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सूचना प्रविधिको प्रयोगबाट उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने सरकारको नीति तथा लक्ष्य रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का प्रतिनिधिमण्डलसँग शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले तीव्र गतिको विकास र उच्चस्तरको वृद्धि हासिल गर्न सूचना प्रविधि अपरिहार्य रहेको धारणा राखे । ‘हाम्रो सोच सकारात्मक र दूरगामी हुनुपर्छ । त्यसलाई हासिल गर्न सूचना प्रविधि तथा इनोभेसनको विकासमा पर्याप्त ध्यान दिनुपर्छ,’ उनले भने, ‘डिजिटल नेपाल फ्रेमवर्क त्यसैका लागि ल्याइएको हो ।’
भेटमा रचनात्मक र सुधारोन्मुख प्रविधि विकास एवं आर्टिफिसियल इन्टेलिजेन्स तथा इन्टरनेट अफ थिङ्सजस्ता प्रविधिमा सरकारको सहयोग आवश्यक हुने क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए । क्यान महासंघले सूचना प्रविधिको संस्थागत विकास, सूचना तथा सञ्चार प्रविधि विधेयक, डिजिटल नेपाल फ्रेमवर्क, सूचना तथा सञ्चार प्रविधि नीति, ब्रोडब्यान्ड नीति, सूचना प्रविधिका उपकरण आयात–निर्यात, सफ्टवेयर उद्योगको विकास र डिजिटल शिक्षाको प्रवर्द्धनलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

Page 13
समाचार

सल्टियो कांग्रेसको विवाद

केन्द्रीय महाधिवेशन यथावत्, तल्ला तहको अधिवेशनको तालिका परिमार्जन हुने
- कुलचन्द्र न्यौपाने

(काठमाडौं) - कांग्रेसको महाधिवेशन केन्द्रित विवाद तत्कालका लागि सल्टिएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रबार भएको ६ घण्टा लामो छलफलमा महाधिवेशन कार्यतालिका र विधानका दफा निलम्बन गर्ने केन्द्रीय कार्यसमितिको निर्णय परिमार्जन गर्ने सहमति भएको छ । सहमतिअनुसारको प्रस्ताव अनुमोदन गराउन देउवाले माघ १३ गते केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् ।
केन्द्रीय महाधिवेशनको तालिका यथावत् राखेर तल्ला तहका अधिवेशनको तिथि र विधानका दफा निलम्बनसम्बन्धी निर्णयलाई परिमार्जन गर्ने गरी विवाद हल गरिएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । ‘डेढ महिनादेखि सिर्जित विवाद अन्त्य भएको छ,’ निधिले भने, ‘महाधिवेशन र पार्टीका संरचनाका विषयमा समेत अब सहमतिअनुसार नै निर्णय हुन्छ ।’
कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सैद्धान्तिक रूपमा विवाद हल भएको बताए । ‘महाधिवेशनको कार्यतालिकासहित भ्रातृसंस्थाहरूका विषयमा सैद्धान्तिक रूपमा मात्रै समझदारी बनेको हो,’ उनले भने, ‘माघ १३ गतेको बैठकमा सहमति हुने/नहुने टुंगो लाग्छ ।’ केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्नका लागि परिमार्जन सहितको प्रस्ताव तयार पार्न संस्थापन पक्षबाट महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रमेश लेखक र इतरपक्षबाट महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य रिजाललाई जिम्मेवारी दिइएको छ ।
सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित नेता सहभागी बैठकले क्रियाशील सदस्यता छानबिन समिति बनाउने र त्यसमा १३ औं महाधिवेशनकै क्षेत्राधिकार लागू गर्ने समझदारी गरेको छ । केन्द्रीय विभाग, नेविसंघ, केन्द्रीय कार्यसम्पादन समिति गठनलगायत तरुण दलको कार्यसमिति विस्तारका विषयमा समेत शुक्रबार छलफल भएको थियो ।
यीमध्ये मुख्य विवाद बन्दै आएको नेविसंघ गठनमा दुई पक्षबीच समझदारी बनेको छ । स्रोतका अनुसार पौडेल र सिटौला पक्षलाई एकमुष्ट साठी प्रतिशतभन्दा केही बढी दिन सभापति देउवा तयार भएका छन् । यसअघि भागबन्डामै कुरा मिलेको थिएन । नेविसंघको १२ औं महाधिवेशन गर्नका लागि तयारी समिति गठन गर्ने, त्यस्तो समितिमा रहेकाहरू १२ औं महाधिवेशनमा उम्मेदवार हुन नपाउने, तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएको दिनसम्म ३२ वर्ष उमेर ननाघेकाले प्रतिस्पर्धा गर्न पाउने गरी समझदारी जुटाइएको उपसभापति निधिले बताए ।
महाधिवेशन तयारीका लागि गठन हुने तदर्थ समितिमा भने विधान अनुसारको उमेर हद नलाग्ने समझदारीसमेत दुई पक्षबीच भएको छ । विधानमा ३२ वर्ष उमेर ननाघेकाले मात्रै प्रतिस्पर्धा गर्न पाउने उल्लेख छ । विभाग र तरुण दलमा भने सहमति जुटिसकेको छैन । ‘केन्द्रीय कार्यसमितिको बैठकसम्म सबै विषयमा विवाद मिलाउने प्रयास जारी रहन्छ,’ केन्द्रीय सदस्य रिजालले भने ।
वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौला पक्ष अनुपस्थित रहेको पुस ११ को बैठकले केन्द्रीय महाधिवेशन ०७७ फागुन ७–१० गते गर्ने निर्णय गरेको थियो । त्यस्तै मंसिर ११ मा गाउँ, मंसिर १५ मा प्रदेशसभामा क्षेत्रीय, मंसिर १७ गते प्रतिनिधिसभा क्षेत्रीय, मंसिर २५ गते जिल्ला र पुस १५ गते प्रदेश अधिवेशन तोकिएको थियो । त्यही बैठकले महाधिवेशनलाई लक्षित गरी क्रियाशील सदस्यता खुला गर्न विधानका दफाहरू निलम्बन गर्ने, विभागका संख्या बढाउने, केन्द्रीय कार्यसमिति र तरुण दलको कार्यकाल क्रमशः एक वर्ष र ६ महिना थप्ने निर्णयसमेत गरेको थियो । यिनै निर्णयलाई लिएर कांग्रेसमा संस्थापन र इतरपक्षबीच ध्रुवीकरण बढेको थियो ।
इतरपक्षीय नेताहरूले उक्त निर्णयले पार्टी महाधिवेशनको विश्वनीयतामाथि नै प्रश्न उठाएको भन्दै सच्याउन माग गर्दै आएका थिए । महाधिवेशनको कार्यतालिका र कार्यविधिमा इतिहासमै पहिलोपल्ट एकपक्षीय रूपमा निर्णय गरिएको भन्दै पौडेल र सिटौला पक्ष आक्रोशित बनेका थिए । संस्थापन इतरपक्षले मंसिर २६ देखि नै केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको थियो । पहिला महाधिवेशनको कार्यतालिका नल्याएकामा र पछि एकपक्षीय रूपमा निर्णय भएको भन्दै इतरपक्ष बैठक बहिष्कार गर्दै आएको हो । उसले सभापति देउवाका गलत निर्णय रोक्न भन्दै राजधानीमा सभापतिहरूको भेलासमेत बोलाएको थियो ।

समाचार

राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– हत्या अभियोग लागेका अग्नि सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय चित्त नबुझेपछि राष्ट्रपतिको विज्ञ–सल्लाहकार पदबाट मानव अधिकारकर्मी सुशील प्याकुरेलले शुक्रबार राजीनामा दिएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भने ‘लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर’ आफूले राजीनामा दिनुपरेको उल्लेख छ ।
प्याकुरेलले दलहरूलाई संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात् गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जगेर्ना गर्नका लागि सजग हुन पनि अपिल
गरेका छन् ।
सापकोटाविरुद्ध २०६२ मा काभ्रेका अर्जुनबहादुर लामालाई अपहरण गरी हत्या गरेको अभियोग छ । सर्वोच्च अदालतले सापकोटाविरुद्ध अनुसन्धान गर्नू भनी आदेश दिएको थियो । झलनाथ खनाल प्रधानमन्त्री भएका बेला सापकोटालाई सूचना तथा सञ्चारमन्त्री बनाइएको थियो ।
हत्या अभियोग लागेकालाई मन्त्री बनाउन मिल्दैन भनी सापकोटाविरुद्ध मानवअधिकार आयोगका पूर्वआयुक्तसमेत रहेका प्याकुरेलले रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्चमा विचाराधीन छ । रिट विचाराधीन छँदाछँदै सापकोटालाई सभामुख बनाउन लागिएपछि प्याकुरेलले राजीनामा दिएका हुन् ।
‘लोकतान्त्रिक आन्दोलनका दौरानमा सिकेको सबैभन्दा ठूलो शिक्षा के हो भने कुनै पनि औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठूलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिकप्रतिको उत्तरदायित्व हो,’ प्याकुरेलले विज्ञप्तिमा भनेका छन्, ‘यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्छ । साथै गत निर्वाचनको जनमतले सरकारलाई सजग तुल्याइरहने पहरेदारको भूमिकामा स्थापित गरेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि भागबन्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्छ ।’


सापकोटाविरुद्ध रिट
व्यक्ति हत्याको आरोप लागेका नेकपाका सांसद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा रिट
दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गम्भीर अपराधको उजुरीमा अनुसन्धानमा परेका सापकोटालाई सभामुख बनाउनबाट रोक्न आदेश जारी हुनुपर्ने माग राख्दै निवेदन दर्ता गराएका हुन् ।
त्रिपाठीले सापकोटाविरुद्धको उजुरी गम्भीर प्रकृतिको भएको भन्दै अनुसन्धानका लागि विशेष कार्यदल गठनको मागसमेत गरेका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रतिनिधिसभा सचिवालय, अग्नि सापकोटा, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलाई विपक्ष बनाइएको छ ।
काभ्रेका अर्जुनबहादुर लामा २०६२ वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चाको अभिभावक भेला स्थलबाट अपहरणमा परेका थिए । साउन तेस्रो साता लामालाई नै खाल्डो खल्न लगाई ज्युँदै पुरेको भनी उनकी पत्नी पूर्णिमाया लामाले २०६४ सालमा काभ्रे जिल्ला अदालतमा जाहेरी दिएकी थिइन् । प्रहरीले जाहेरी लिन मानेन ।
त्यसपछि उनी सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वोच्चले २०६४ फागुन २२ गते आदेश जारी गरेपछि सापकोटाविरुद्धको जाहेरी दर्ता भएको थियो । पछि बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहेरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यही निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी भयो । उक्त रिट अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।

समाचार

भेडा झरे औल

- हरि गौतम,छपाल लामा
रुकुम पश्चिमको मुसिकोट–७ को जंगलमा चरिरहेका भेडा हेर्दै स्थानीय ।तस्बिर ः हरि/कान्तिपुर

(रुकुम पश्चिम/हुम्ला) - केही दिनयता मध्यपहाडी लोकमार्गको दायाँबायाँ रोकिने गाडीको संख्या धेरै छ । लेक डुल्ने भेडा र गोठालासँग भलाकुसारी गर्न र फोटो खिच्ने यात्रुका कारण सवारीसाधन रोकिन्छन् ।
लगातारको हिमपात र चिसो बढेसँगै भेडा औलतिर झर्न थालेका छन् । लोकमार्गको साँख–रिनदह खण्डमा दुई सातायता भेडा हेर्ने र भेडाको फोटो खिच्नेको हुल नै छ । बिहान ११ बजे र बेलुकी ५ बजे आसपासको समय भने भेडाको बथान हिँड्दा हुलले नै सडक ढाक्छन् । चर्न जाँदा र फर्कंदा मध्यपहाडी लोकमार्ग भएरै भेडा हिँडाइने भएकाले भेडाको बथान नसकिएसम्म सवारीसाधन रोकिनैपर्छ । सवारी आवागमन नै ठप्प पार्ने गरी हिँड्ने भेडाको बथानले दिनमा दुईपटक झन्डै एक किलोमिटर यात्रा गर्छ ।
भेडा चढ्ने लेकका बुकीमा चिसो बढ्दै जाँदा गोठाला बथानसहित औल झर्छन् । घरदेखि बुकी चर्दै मुसिकोट नगरपालिकाको ७ र ८ नम्बर वडामा पुग्ने उनीहरूलाई ठ्याक्कै दुई महिना लाग्छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११, सेराका पाँच परिवार झन्डै चार सय भेडासहित रिनदह र बैरीदहमा घाम ताप्दै दिन गुजार्दैछन् । खुला ठाउँमा पाल टाँगेर पाँच जनाको परिवार भेडीगोठ रुङेर बसिरहेको छ । भेडालाई चिसोबाट बचाउन र न्यानो ठाउँ खोज्न उनीहरू बर्सेनि औल झर्छन् । डेढदेखि दुई महिना औल चरन गरेपछि लामो समय लगाएर घर हुँदै बुकी उक्लिन्छन् ।
सेराका करबहादुर बुढा, रामप्रसाद बुढा, कृष्णबहादुर बुढा, जसबहादुर बुढा र वीरमान बुढा आफ्नो परिवार, भेडा र कुकुरसँगै लिएर औल झरेका छन् । पाँच जिल्लाका लेकमा भेडा चराउँदै बर्सेनि हिँड्ने गरेको करबहादुरले बताए । उनीहरू भेडा चराउँदै रुकुम पूर्व, म्याग्दी, बागलुङ, रोल्पा र रुकुम पश्चिमका विभिन्न लेक छिचोल्छन् । कात्तिक पहिलो साता भेडा औल झार्न हिँडेका उनीहरू पुस महिनाको अन्तिम साता रुकुम पश्चिमको नौबहिनी र गर्पाधुरी पुगेका थिए । विभिन्न ठाउँमा बस्दै चराउँदै उनीहरू उही बाटो भएर बुकी उक्लन्छन् । ‘तातो सर्दै गएपछि हामी पनि लेक सर्दै जान्छौं,’ उनले भने, ‘फागुन महिनामा यहाँबाट बुकीका लागि हिँड्ने गरेका छौं ।’ अहिले धेरै ठाउँ चरन क्षेत्र हिउँले ढाकेका छन् ।
पछिल्लो समय चरन क्षेत्र साँघुरिँदै गएको कृष्णबहादुरको गुनासो छ । सामुदायिक, राष्ट्रिय तथा निजी वनमा पशु चराउन कडिकडाउ हुनु र सडक सञ्जाल जोडिनुजस्ता कारणले चरनक्षेत्र साँघुरिएको हो । केही वर्षअघिसम्म उनीहरू सल्यान र दाङसम्म भेडा लिएर पुग्थे । ‘लेकमा चिसो बढ्दै जाँदा औल झर्ने निहुँले दाङ पुगेर च्याङ्ग्रामा नुन र चामल बोकेर ल्याउँथ्यौं,’ उनले भने, ‘अब सडकले नुन र चामल गाउँमा पुर्‍यायो, त्यसैले अहिले उता जान छाड्यौं ।’ पछिल्लो समय भेडापालकसँग सामुदायिक वनले शुल्क लिन थालेको छ ।
एक महिनाका लागि सामुदायिक वनले उनीहरूबाट ४७ हजार रुपैयाँ लिएको छ । ‘भेडापालनका लागि चरन क्षेत्र चाहिन्छ नै, त्यसका लागि लेक र औल गर्नैपर्छ,’ जसबहादुरले गुनासो गरे, ‘सबैतिर बन्देज लाग्दा भेडा पाल्न सकस भयो ।’ सामान्यतयाः एउटा भेडापालक किसानले वर्षमा २ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । भेडा र ऊन बिक्रीबाट आम्दानी भइरहेको उनले बताए । दसैंतिहारमा म्याग्दी र बागलुङका बासिन्दा भेडा किन्न आउने गरेका छन् । एउटा भेडा ८ हजारदेखि २१ हजारसम्म बिक्री हुने गरेको छ ।
यसपटक लामो समयदेखिको हिउँ नपग्लँदा हुम्लामा घरपालुवा पशुचौपाया र वन्यजन्तुलाई चरिचरनमा समस्या भएको छ । हिमपातले लेकाली क्षेत्रका विभिन्न वनका नाउर, घोरल, थार, मृगलगायत वन्यजन्तुलाई चरिचरनमा समस्या भएको हो । हिउँका कारण लोपोन्मुख वन्यजन्तु बढी समस्यामा परेको डिभिजन वन कार्यालयका रेञ्जर सन्डप लामाले बताए । हिमपातको असर सबैभन्दा बढी नाम्खा गाउँपालिकामा देखिएको छ । ‘घरपालुवा जनावरले कम्तीमा न्यानो ओत पाएका छन्,’ उनले भने, ‘नाउर, थार, झारललगायत वन्यजन्तु खानेकुरा नपाउँदा पाटनमै अलपत्र परेको खबर आएको छ ।’ वन क्षेत्रमा बाक्लो हिउँ जमेपछि किसानलाई गाई, चौंरीलगायत पशुचौपाया चराउन समस्या भएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । हुम्लामा यो वर्ष ६ पटक भारी हिमपात भइसकेको छ ।

समाचार

एमसीसीबारे अमेरिकासँग संवाद हुन्छ ः दाहाल

- कान्तिपुर संवाददाता

नवलपरासी (कास)– नेकपा अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौतालाई राष्ट्र हितअनुकूल अघि बढाइने बताएका छन् । एमसीसीका विषयमा अमेरिकासँग सरकारले संवाद गर्ने र केही परिमार्जन गर्नुपर्ने देखिए त्यही बेला टुंगो लगाइने उनले जानकारी दिए ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा आयोजित कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष दाहालले पार्टी एकीकरणका मूलभूत काम सकिएको जानकारी दिँदै केही बाँकी प्रसंग चाँडो टुंगो लगाइने बताए । राष्ट्रिय सभाको निर्वाचन परिणामले नेकपा देशकै ठूलो र शक्तिशाली पार्टी भएको उनले बताए ।

Page 14
समाचार

धरानलाई लाहुरेको न्यास्रो

बेलायती सेनाबाट सेवानिवृत्तलाई आवासीय भिसाको व्यवस्था गरिएपछि यताबाट जाने र उतै रोकिने क्रम बढेको छ । उनीहरुले भित्र्याउने रेमिट्यान्स र पेन्सनसमेत रोकिएपछि धरानका सबै खाले व्यापार–व्यवसायमा असर परेको छ ।
- प्रदीप मेन्याङ्बो
सुनसरीको धरान बजार ।फाइल तस्बिर ः कान्तिपुर

(सुनसरी) - बेलायती सेनामा सरदर डेढदेखि दुई दशक सेवा गरेपछि ‘रिटायर्ड लाइफ’ बिताउने थलोका रूपमा धरानलाई छान्ने पूर्वगोर्खा सैनिकहरू र तिनका सन्तति अचेल बेलयतमै रमाउन थालेका छन् ।
सन् २००४ देखि पूर्वगोर्खा र उनीहरूका सन्तानले बेलायती आवासीय अधिकार पाएपछि धरानका हरेक गतिविधिमा उनीहरूको उपस्थिति नगण्य जत्तिकै भएको छ । ‘लाहुरेको सहर’ भनेर चिनिने धरानमा अचेल बेलायती लाहुरे सितिमिति भेटिँदैनन्, न उनीहरूका सन्तान भेटिन्छन् ।
पूर्वगोर्खाहरूमध्ये विभिन्न कारणले बेलायती आवासीय भिसा नपाएका, अति वृद्धवृद्धा र आफ्नै देशमा बस्न चाहने मात्र यहाँ छन् । पहाड र मधेसको संगमस्थलमा रहेको धरानलाई गुलजार बनाउन र व्यापारिक केन्द्र बनाउन पूर्वगोर्खाहरूको योगदान थियो ।
आर्थिक रूपमा सम्पन्न, नेपाली सरकारी जागिरेको तलबभत्ता सुविधाभन्दा बढी पेन्सन, चिटिक्क परेका दुईदेखि चारतलेसम्मका पक्की घर, दालभातका लागि मोरङ र सुनसरीका मधेस क्षेत्रमा कम्तीमा डेढ–दुई बिघा जग्गा, बैंक ब्यालेन्स भएका लाहुरेहरू बेलायतमै रमाउन थालेपछि हरेक क्षेत्रमा त्यसको असर परेको मान्छन् धरानका पूर्वनगरप्रमुख मनोजकुमार मेन्याङ्बो । ‘बेलायती लाहुरेहरूकै कारण धरानको विकास निर्माण, सामाजिक र आर्थिक गतिविधि चलायमान भइरहेको थियो,’ उनी भन्छन्, ‘विदेशको विकास देखेर आएका उनीहरूले स्वःफूर्स्त रूपमा धरानलाई अरूभन्दा फरक बनाउनुपर्छ भनेर जनसहभागितामा आधारित विकास निर्माणमा योगदान दिन सुरु गरेका थिए ।’
नगरपालिकाले अघि सारेको जनसहभागितामा आधारित विकास निर्माणलाई लाहुरे समुदायले आत्मसात् गरे । लाहुरेले विदेशमा डेढ दशक बसेर कमाएको भन्दा निकै बढी सम्पत्ति भएकाहरू पनि धरानमा नभएका होइनन् तर आफू बसेको सहरलाई सुन्दर र आधारभूत पूर्वाधारयुक्त बनाउने काममा सरकारी योजना पर्खनु हुँदैन भन्ने नमुना लाहुरेले देखाएका थिए । अन्य समुदायका तुलनामा अधिक क्रयक्षमता भएका लाहुरे समुदायलाई नै लक्षित गरे धरानमा थुप्रै व्यावसायिक पसल, घर निर्माणका सामग्री बेच्ने हार्डवेयर पसल, डिपार्टमेन्टल स्टोर, सुनचाँदीका गहना पसल, तयारी पोसाकका बिक्री केन्द्र, होटल रेस्टुरेन्ट, निजी बैंक, स्कुल, नर्सिङ होम, फेसनेबल बुटिक, सौन्दर्य प्रसाधन तथा पार्लर र घरघडेरीका कारोबार चलेका हुन् ।
‘एकपछि अर्को गर्दै आफ्ना घरजग्गा बेचेर लाहुरे र तिनका सन्तान बेलायत पलायन हुन थालेपछि आर्थिक र सामाजिक गतिविधिमा असर परेको छ,’ मेन्याङ्बोले भने, ‘पूर्वगोर्खाहरू बेलायत पलायन भए पनि पछिल्लो समयमा खाडी मुलुक, मलेसिया र कोरियामा रोजगारीमा जानेहरू छन् तर तिनले धरानको आर्थिक र सामाजिक गतिविधिलाई धान्न नसकेको देखिन्छ ।’ सुन्दर भविष्य खोज्दै बेलायत पलायन हुनु लाहुरेका रहर र बाध्यता भए पनि नगरमा त्यसको नकारात्मक असर परेको उनको भनाइ छ ।
आर्थिक विश्लेषकसमेत रहेका सुनसरी उद्योग वाणिज्य संघका पूर्वप्रथम उपाध्यक्ष कृष्ण अग्रवाल धरानको आर्थिक गतिविधिलाई चलायमान बनाउन बेलायती लाहुरेको महत्त्वपूर्ण योगदान रहेको बताउँछन् । ‘जति बढी आम्दानी हुन्छ, त्यति बढी खर्च हुन्छ भन्ने अर्थशास्त्रको सिद्धान्तले भन्छ,’ उनी भन्छन्, ‘त्यसबेला धरान बस्ने गोर्खा लाहुरेहरूको पेन्सन फिक्स इन्कम थियो । उनीहरूका सन्तान पनि प्रायः लाहुरे नै हुने गरेका थिए । ती लाहुरे भएका छोराले पनि धरानमै पैसा पठाउँथे तर अहिले अवस्था फेरिएको छ ।’ लाहुरेहरू बेलायत पलायन भएपछि धरानको व्यापार व्यवसायमा व्यापक असर परेको उनले बताए । ‘यद्यपि पछिल्लो समयमा व्यापारको ट्रेन्डमा केही परिवर्तन आएकाले असर धेरै नदेखिए जस्तो लाग्छ,’ उनी भन्छन् । धरान क्षेत्रको सालभरको आर्थिक कारोबार हाल करिब ८० देखि ८५ अर्ब रुपैयाँ हो । यो कारोबारमा लाहुरेको आम्दानीको योगदानको हिस्सा बर्सेनि घट्दो छ । ‘यदि बेलायत पलायन नभई यतै रहेका भए यतिबेला कारोबार सवा खर्ब पुग्न सक्ने अनुमान गर्न सकिन्छ,’ उनी भन्छन् ।
लाहुरेहरूले धरानका सडक, विद्यालय र पार्कजस्ता समाजका लागि आवश्यक विकासनिर्माणमा करोडौं रुपैयाँ अनुदान र जनसहभागिताका रूपमा खर्च गरेका छन् । उनीहरूकै ‘वन डे पे स्किम’ का आधारमा पूर्वकै पुरानो डिपो स्कुल सञ्चालनमा छ । गोर्खा सैनिक विश्राम भवन, गोर्खा बचत तथा ऋण सहकारी संस्था, गोर्खा सपिङ कम्प्लेक्स, गोर्खा कम्युनिटी हल र विष्णुपादुकाको माछामारा डाँडामा १३ बिघा जग्गामा करोडौंको गोर्खा स्मृति पार्क निर्माण भएका छन् ।
‘यहाँभन्दा बेलायतमा सबै थोकको सुविधा भएकाले धेरै साथीहरू उतै लागे तर धरानका पूर्वगोर्खाले स्थापना गरेका, पुँजी लगानी गरेका र विकासनिर्माण तथा पर्यटनका लागि निर्माण गरेका विभिन्न पार्कहरू, भवन, स्कुलहरू अब नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ भनेर विचार गरिरहेका छौं,’ बेलायतको सुविधालाई त्यागेर धरान–१५ एभरेस्टलाइनमा सपरिवार बस्दै आएका गजेन्द्र इस्वो भन्छन्, ‘छाडेर जाने त गइहाले तर भएका सार्वजनिक भौतिक सम्पत्ति कसरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने भन्ने चिन्ता छ ।’ बेलायती लाहुरेले मात्रै लगानी गरेका सार्वजनिक सम्पत्ति र आयमूलक सपिङ कम्प्लेक्स भवन करोडौं रुपैयाँका अझै धरानमा रहेको उनले बताए । ‘तिनलाई रेखदेख गर्ने पुराना पुस्ताको अभाव हुँदै गएको छ,’ उनले भने । उनीहरू बसिन्जेल जनसहभागितामूलक कार्यक्रममार्फत धरानमा दुई दशकको अवधिमा करिब ५० करोड रुपैयाँ बराबरको सडक, नाला र फुटपाथसहितको स्तरीय १ सय २५ किमि कालोपत्रे सडक, नगरका १० वटा वडाका वडा समिति कार्यालय भवन, भूकम्प स्मारक, घण्टाघर, विद्यालय, प्रहरीचौकी निर्माण भएका हुन् । उनीहरू आर्थिक सहयोग गर्न हात खुला गर्ने मात्र नभई निर्माणका काममा आफैं अघि सरेर श्रमदान गर्थे ।
पूर्वका लिम्बू र राई समुदायका युवालाई गोरखा भर्ती गर्ने उद्देश्यले विसं २०१६ मा धरानमा ब्रिटिस घोपा क्याम्प स्थापना भएको थियो । त्यहाँ हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । लाहुरे परिवारका महिलाहरू सुनचाँदी गरहगनाका सौखिन पनि मानिन्थे तर उनीहरूले धरान छाडेसँगै धरानका गहना व्यवसायमा असर परेको सुनसरी सुनचाँदी व्यवसायी संघका अध्यक्ष किसन मास्केले बताए । ‘धरानमा गरगहनाका राम्रा र नियमित ग्राहक लाहुरेका परिवार नै थिए,’ उनी भन्छन् । दशकअघि धरानका अधिकांश निजी क्षेत्रबाट खुलेका स्कुलहरूमा कम्तीमा १० देखि ५० प्रतिशतसम्म तिनै लाहुरे समुदायका सन्तान पढ्ने गर्थे । अहिले करिब शून्य बराबर रहेको संस्थागत विद्यालय सञ्चालकहरू बताउँछन् । धरान–१६ जनपथस्थित जेनिथ स्कुलका संस्थापक सुमन जबेगु र धरान–९ को विष्णु मेमोरियल बोर्डिङ स्कुलका निर्देशक बेनिन्द्र कटवालका अनुसार गोर्खा लाहुरेहरूका छोराछोरी बोर्डिङमै पढाउने बानीले निजी विद्यालय सञ्चालन गुल्जार थियो । ‘मेरो स्कुलमा एक दशकको अवधिमा जति विद्यार्थी थिए, त्यसको ५० प्रतिशत लाहुरे समुदायका थिए,’ कटवाल भन्छन्, ‘ती सबै उनीहरूका अभिभावकसँगै बेलायत गए ।’ जेनिथका जबेगुले धरानबाट पूर्वगोर्खाको बेलायत बसाइँसराइले व्यापार व्यवसायमा असर परेजस्तै संस्थागत स्कुलहरूमा असर देखिएको बताए । ‘पहिले पहिले धरानमा लाहुरेहरूले मात्र आफ्ना नानीहरूलाई बोर्डिङ स्कुलमा पढाउन सक्छन् भन्ने मान्यता थियो,’ उनले भने ।
पाउन्डमा पेन्स पाउने लाहुरेको पलायनले शैक्षिक क्षेत्र मात्र प्रभावित नभएर घरजग्गाको कारोबार र घर निर्माण व्यवसायमा पनि उत्तिकै असर परेको छ । इन्जिनियरिङ कन्सल्ट्यान्ट खोलेर घर नक्साको डिजाइनिङ गर्दै आएका निर्देशक सुनल किराती भन्छन्, ‘अचेल लाहुरेको घर डिजाइनिङ गर्नेभन्दा भएको घर बेच्न खोज्नेहरू बढी भएका छन् ।’ दशक अघिसम्ममा ९५ प्रतिशत घर लाहुरेकै मात्र डिजाइनिङ गर्ने गरेकामा हाल काम शून्य बराबर भएको उनले बताए । सुनसरी निर्माण व्यवसायी संघका तदर्थ सचिव बालकृष्ण सिंगकका अनुसार बेलायततिर जाने लाहुरेका कारण नयाँ डिजाइनका घर निर्माण निकै घटेको छ । ‘उतै बसेपछि यहाँ कसले बनाउने घर ?,’ उनले भने, ‘अहिले धरानको घर निर्माण व्यवसायलाई सिंगापुरे लाहुरे, कोरियन, मलेसिया र खाडी मुलुकबाट कमाएर आउनेहरूले मात्र धानेका छन् ।’ धरान उपमहानगर घरनक्सा फाँटका पूर्वकर्मचारी हरिबहादुर कार्कीका अनुसार ५० र ६० को दशकमा वार्षिक आठ सयवटा हाराहारी घर निर्माण हुन्थे । अधिकांश बेलायती लाहुरेले धेरै खर्च गरेर डिजाइनदार घर बनाउँथे । ‘अभिभावक बेलायततिर बस्न थालेपछि सन्तानको शिक्षा, स्वास्थ्य, आर्थिक उन्नति र रोजगारीको सवालमा सुवर्ण अवसर मान्नुपर्ने भए पनि संस्कार, संस्कृति, भाषा, लिपि पहिचानसँगै रेमिट्यान्सको सवाल भने पेचिलो बनेको छ,’ आर्थिक र सामाजिक विश्लेषक प्राडा राजेन्द्र शर्माले भन्छन्, ‘धरानलाई आधुनिक धरान भनेर पहिचान दिने मुख्य भूमिका नै तिनै गोर्खा लाहुरेहरूले खेलेका हुन् ।’ धरानमा गोर्खा भर्तीका लागि भनेर ब्रिटिस क्याम्प स्थापना भएपछि तिनै लाहुरेहरू बेलायतबाट अवकाश पाएर ३० को दशकमा धरानमै बिस्तारै घरजग्गा किनेर बस्न थालेर यहाँको आर्थिक र सामाजिक गतिविधिमा तीव्रता आएको थियो । ‘धरानको कुल जनसंख्याले गर्ने कारोबारभन्दा लाहुरेहरूले भित्र्याउने रेमिट्यान्स र पेन्सन बढी हुन्थ्यो,’ उनी भन्छन्, ‘जसले यहाँका सबै खालका व्यापार व्यवसायलाई ठूलो भर थियो ।’ ६० को दशकयता धरान, इटहरी, पोखरा र बुटवलजस्ता लाहुरे बाहुल्य भएका सहरमा पूर्वगोर्खाहरू र उनीहरूका सन्ततिको भूमिका क्रमशः घटेको शर्माले बताए ।
धरानमा ब्रिटिस गोर्खा वेलफेयर सर्भिस छ । धरानमा हाल पनि विभिन्न बैंकमार्फत बेलायती सेनाबाट अवकाशपछि पेन्सन पाउनेहरूमा ४ हजार २ सय ७८ जनाको नाम छ । उनीहरूले वार्षिक २ अर्ब ३३ करोड ९९ लाख २८ हजार रुपैयाँ पेन्सनबापत लिँदै आएको तथ्यांक छ । बैंकमार्फत नलिएर नगद लिने १ हजार ३ सय ७० जनासमेतको पेन्सन पनि जोड्दा वार्षिक ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ हुन्छ तर उक्त रकम अधिकांश लाहुरे आफैंले नथापेर बैंकमा जम्मा गरेका छन् या आफन्तका नाममा गरेका छन् । उनीहरूको अनुपस्थितिले गर्दा उक्त रकम चलायमान हुन सकेको छैन ।
यसो त बेलायती सेनामा अहिले पनि धरान स्थायी घर भएका करिब सात सयजना कार्यरत छन् । पछिल्लो पुस्ताका लाहुरे पनि बेलायतमै फ्ल्याट किनेर बस्न थालेपछि उनीहरूले पठाउने अर्बौं रुपैयाँ रेमिट्यान्स उतै रोकिएको छ । बेलायतमा आवासीय अधिकार नपाएका भए पछिल्ला पुस्ताका नयाँ लाहुरेले मात्र वार्षिक करिब २ अर्ब १० करोड रुपैयाँ रेमिट्यान्स भित्र्याउँथे । आर्थिक कारोबारका लागि पुँजी भित्रँदा उपमहानगरको आन्तरिक आय पनि वृद्धि हुन सक्थ्यो ।

Page 15
खेलकुद

मनाङको कठिन जित

- कान्तिपुर संवाददाता
'ए' डिभिजन लिगमा सरस्वती युवाविरुद्ध बल अगाडि बढाउँदै मनाङका विमल राना (२१) । तस्बिर ः हेमन्त श्रेष्ठ/कान्तिपुर

(काठमाडौं) - डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङदीले विमल रानाको गोलसँगै शुक्रबार रेलिगेसनको डर बढेको सरस्वती युवा क्लबलाई १–० ले पराजित गरेको छ । मनाङले बराबरीको शृंखलालाई ४ खेलमा टुंग्याउँदै जित हात पारेको हो ।
दशरथ रंगशालामा प्राप्त जितसँगै मनाङले अपराजित यात्रा आठौं खेलसम्म डोर्‍याउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १६ अंक बनाएको छ । मछिन्द्र र एक खेल कम खेलेको आर्मीले पनि १६ अंक नै जोडेका छन् । तर गोल अन्तरका आधारमा आर्मी पहिलो, मछिन्द्र दोस्रो र मनाङ तेस्रोमा छन् । आर्मीले शनिबार पहिलो खेलमा एनआरटीलाई पराजित गर्नसके स्पष्ट ३ अंकको अग्रता लिनेछ ।
आठौं चरणसम्म जितविहीन एक्लो टिम हो सरस्वती । उसले छैटौं खेलमा ब्रिगेड ब्वाइजविरुद्ध गोलरहित खेल्दै १ अंक जोडेको छ । उसले अरु सातै खेलमा हार बेहोरेको छ । आठ खेलमा जम्मा २ गोलमात्रै गरेको सरस्वती सहभागी १४ क्लबमध्ये पुछारमा छ । सरस्वतीको नजिक एपीएफ (५ अंक) र हिमालयन शेर्पा (७) छन् । यसपालि एउटा टिममात्रै रेलिगेसनमा पर्नेछ, त्यसैको डर सरस्वतीलाई बढ्दै गएको छ ।
आठ वर्षपछि ‘ए’ डिभिजनको मान्यता गुमाउने डर बढेको स्वीकार्दै सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले भने, ‘मनाङविरुद्ध राम्रो खेल प्रदर्शन गरेको हो । अन्तिमसम्म हामी कोसिस गर्नेछौं भन्नैपर्छ ।’
चार जित र चार बराबरीको नतिजापछि मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले भने, ‘सरस्वती रेलिगेसनको संघर्षरत टिम भएकाले खेल कठिन हुन्छ भन्ने सोचेका थियौं र त्यस्तै भयो । हाम्रो प्रदर्शन पनि राम्रो भएन । दोस्रो हाफको सुरुमै गोल भएपछि सजिलो भयो ।’
विमलले दोस्रो हाफको पहिलो मिनेटमै गोल गरेका थिए । निशान लिम्बुको क्रसमा अन्जन विष्टको हेडरमा बल क्रसबार लागेर फर्कियो र त्यही बल विमलले भेट्टाए । विमलले हेडबाट निर्णायक गोल गरेका थिए । लिगमा यो उनको चौथो गोल हो । उनले ४९ औं मिनेटमा सुसन लामाको ब्याकपासमा पेनाल्टी क्षेत्रमा खुट्टामै पाएको बललाई भने उपयोग गर्न सकेनन् ।
आर्मी र मछिन्द्रको समान १६ अंक भएपछि प्रशिक्षक प्रजापतिले भने, ‘हामी शीर्ष प्रतिस्पर्धाको शीर्ष तीन टिममै रहेका छौं । टिमको प्रदर्शनमा थुप्रै सुधार गर्नुपर्ने देखिन्छ, हामी प्रयास गर्नेछौं ।’ मनाङले सुरुका तीन खेलमा एपीएफ, आर्मी र ब्रिगेड ब्वाइजलाई पराजित गरे पनि त्यसपछि फ्रेन्ड्स, मछिन्द्र, हिमालयन शेर्पा र थ्रीस्टारसँग अंक बाँडेको थियो ।


च्यासलको दोस्रो जित
लिगपूर्व च्याम्पियन बन्ने लक्ष्य बनाएको च्यासल युवा क्लबले पहिलो खेलमा २–० ले संकटालाई पराजित गरेको थियो । त्यसपछिका ६ खेल (३ बराबरी, ३ हार) मा जितविहीन रहेपछि बल्ल आठौं चरणमा आएर च्यासलले ब्रिगेड ब्वाइजमाथि सफलता हात पार्‍यो ।
च्यासलले सन्तोष साहुखलको गोलमा ब्रिगेड ब्वाइजलाई १–० ले पराजित गरेको हो । उनले जापानी खेलाडी ताइगा नाकामुराले उपलब्ध गराएको बललाई ९२ औं मिनेटमा गोलमा परिणत गर्दै च्यासललाई जित दिलाए । यससँगै उनको ए डिभिजन लिगमा गोलसंख्या १०२ पुगेको छ ।


आजका खेल
एनआरटीविरुद्ध आर्मी
१२ः०० बजे
फ्रेन्ड्सविरुद्ध संकटा
१५ः०० बजे
दशरथ रंगशाला

खेलकुद

समातिए मिलन

- कान्तिपुर संवाददाता

(पोखरा) - कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको पर्सीपल्ट प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परे । उनीविरुद्ध जाहेरी दिने मिलनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । त्यो पनि बैंकिङ कसूर मुद्दामा । मिलन र मनाङे यतिखेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
मनाङे पक्राउ परेको भोलिपल्टै मिलन समातिए । बिहीबार पक्राउ परेका मनाङेलाई जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई दिन म्याद थपेको छ । हरिभक्त आचार्यको जाहेरी आधारमा मिलन पक्राउ परे । आचार्यका अनुसार भदौमा दक्षिण एसियाली खेलकुद (साग) को तयारीका क्रममा महिला फुटबल टोली उनको होटलमा बसेको थियो ।
लेकसाइडमा उनले चलाएको ओम गौरा जोस्टेल नामक होटलमा ३४ जनाको टोलीले ४ दिनसम्म खानेबस्ने गरेको थियो । २ लाख १५ हजार रुपैयाँको बिल आयो । संघका अध्यक्ष मिलनले रकम आफूले तिर्ने जिम्मा लिए । असोज १३ मा साटिने गरी २ लाख रुपैयाँबराबरको चेक होटललाई बुझाए । गण्डकी विकास बैंकको अमरसिंह शाखामा उनकै नामको खाता भएको २००२५३८४७४ नम्बरको चेक होटललाई बुझाएका थिए । आचार्यले कुमारी बैंकको आफ्नो खातामा चेक जम्मा गरे । तर पुस १७ सम्म पनि मिलनको खातामा पैसा नदेखिएपछि बाउन्स चेक प्रमाणित गरी बैंकले क्लियरेन्स गरिदियो ।
‘पैसा माग्न सम्पर्क गर्दा उल्टै गालीगलौज गर्ने, धम्क्याउने गरेपछि बाध्य भएर जाहेरी दिएको हुँ,’ आचार्यले भने । उनले बिहीबार मिलनविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यसो त, दीपक मनाङे पक्राउ परेपछि मात्रै उनले मिलनविरुद्ध जाहेरी दिएका हुन् । चेक हराएकाले खोजी गर्दा केही ढिलो भएको आचार्यको दाबी छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी राजकुमार केसीले बैंकिङ कसूर मुद्दामा अनुसन्धानपछि मिलनलाई पक्राउ गरेको बताए । ‘विभिन्न खेल हुँदा होटलमा खेलाडी राख्ने, पैसा नतिर्ने, पैसा माग्दा धम्क्याउने गरेको देखियो,’ उनले भने, ‘अरु तीन ठगीका उजुरी पनि परेका छन् । त्यसमा अनुसन्धान भइरहेको छ । हामी पनि ठगियौं भनेर आउने क्रम बढ्दो छ ।’
आइतबार मिलनले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेलमाथि हातपात गरेका थिए । क्लबस्तरीय मनकामना पोखरा कप फुटबल प्रतियोगिता गर्दा संघले लगेको सामग्रीको बक्यौता रकम माग्दा पौडेलमाथि हातपात भएको थियो । मिलन टोलेगुण्डा भएकैले डराएर पौडेलले उजुरी नदिएको हुनसक्ने प्रहरी बताउँछ ।
उनी प्रतियोगिता गर्छन् । रकम ल्याउँछन् तर बुझाउनुपर्ने ठाउँमा बुझाउँदैनन् । पैसा माग्दा गुण्डागर्दी शैली प्रदर्शन गरेर कुटपिटमै उत्रन्छन् । मिलनले दुई वर्षदेखि संघ सम्हालेयता कार्यसमितिमा एक्लै हाबी हुने गरेका छन् । पदाधिकारीको भूमिका निस्क्रियजस्तै छ । उनको हिसाबकिताब पारदर्शी छैन । पदाधिकारीले कुनै भूमिका पाएका छैनन् । पोखरा कप आयोजना गर्दा विभिन्न होटलमा खेलाडी राखेको खर्च मिलनले अहिलेसम्म बुझाएका छैनन् ।

खेलकुद

हेल्प नेपाल र एपीएफ विजेता

- कान्तिपुर संवाददाता
पाँचौं आरबीबी–एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब । शुक्रबार फाइनलमा पुरुषतर्फ हेल्पले एपीएफ क्लबलाई सोझो सेटमा हराएको थियो । तस्बिर ः कान्तिपुर

 

काठमाडौं (कास)– पाँचौं आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल एपीएफ क्लब च्याम्पियन भएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार पुरुषतर्फ फाइनलमा हेल्प नेपालले एपीएफलाई निरीह पार्दै सोझो सेटमा जित निकालेको थियो । तीन भारतीय र इन्डियन आर्मीमा कार्यरत नेपाली खेलाडी उतारेको हेल्प नेपालले सजिलो जित पायो । टोलीले २५–१७, २५–१४, २५–२१ को नतिजा निकालेको थियो । त्रिभुवन आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २५–१८, २५–१८, २५–२० ले पराजित गर्दै तेस्रो स्थान हात पार्‍यो ।
महिलातर्फ चिरपरिचित प्रतिद्धन्द्धी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराएर एपीएफले उपाधि जित्यो । एपीएफको यो सिजनको चौथो उपाधि हो । एपीएफले आठौं राष्ट्रिय खेलकुद, शेरबहादुर खड्का स्मृति भलिबल र न्यु डायमन्ड कप जितेको थियो । एपीएफले २५–२३, २५–२१, २३–२५, २५–१८ ले सेट जितेको थियो । तेस्रो सेटमा २२–२० को अवस्थामा डायमन्डकी प्रतिभा मालीले चोट बोकेकी थिइन् । स्पाइक हान्ने क्रममा लड्दा गम्भीर चोट बोकेपछि उनलाई हस्पिटल लगिएको थियो ।
आर्मीले पुलिसलाई २५–२२, २५–१३, २५–२१ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
दुवैतर्फका विजेताले २ लाख उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाए । तेस्रो हुने टिमले ५० हजार पायो । पुरुषतर्फ हेल्प नेपालका अमित र महिलामा न्यु डायमन्डकी प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भए । दुवैले समान २५ हजार हात पारे । व्यक्तिगत विधातर्फ पुरुषमा आर्मीका राजेन्ऽ विष्ट उत्कृष्ट स्पाइकर, हेल्प नेपालका याम क्षत्री उत्कृष्ट ब्लकर, विकास कुमार उत्कृष्ट सेटर, एपीएफका विनोद चन्द उत्कृष्ट
लिबेरो, एपीएफका विजय थापा उत्कृष्ट सर्भर र हेल्प नेपालका स्वमभिराम बलवानसिंह उत्कृष्ट प्रशिक्षक घोषित भए ।
महिलातर्फ डायमन्डकी प्रतिभा माली उत्कृष्ट सर्भर पनि भइन् । एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, एपीएफकी विनिता बुढाथोकी उत्कृष्ट सेटर, न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो र एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले जनही १० हजार रुपैयाँ पाए ।

खेलकुद

चन्द्रपुर र बाह्रबिसे विजयी

- शिव पुरी

(रौतहट) - चन्द्रनिगाहपुरमा शुक्रबार सुरु उपमेयर कप राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ३–० ले हराएको छ । दिनको पहिलो खेलमा बाह्रबिसे नगरपालिका (सिन्धुपाल्चोक) ले नुवाकोटको विदुर नगरपालिकामाथि ४–० को जित पाएको थियो ।
शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा रौतहट जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा चन्द्रपुरकी दिलकुमारी रानामगरले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरिन् । मनीषा राउतको पासमा दिलकुमारीले बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो । त्यतिबेला उदयपुरकी गोलकिपर देविका श्रेष्ठ बिट भइन् । एक गोलले अग्रता पाएको चन्द्रपुरले दोस्रो हाफकै सातौं मिनेटमा मनीषाले दोस्रो गोल गरिन् । उनले पनि डी बक्सभित्रबाट प्रहार गरिन् ।
दसौं मिनेटमा एकल प्रयासबाट दिलकुमारीले टिमका लागि पुनः तेस्रो गोल गरिन् । त्यसक्रममा उनी घाइते भएर बाहिरिइन् । उनको स्थानमा मेनुका आले मैदान प्रवेश गरिन् । घरेलु मैदानमा चन्द्रपुरले आकर्षक खेल पस्कियो । उदयपुरको केही अवसर सदुपयोग भएन । टोलीका मुना रानामगर, नमिता राई, अनुस्का शेर्पा, र अनुशा थेवेले गतिलो प्रदर्शन गरेका थिए । उदयपुरकी अनुसा थेवेले थुप्रै बचाउन गरिन् । चन्द्रपुरका रोजिना श्रेष्ठ, रजनी ठोकर, समिस्या घिमिरे, मेनुका नगरकोटी र सविता रानामगरले राम्रो खेल प्रदर्शन गरेका थिए । चन्द्रपुरकी गोलकिपर सपना राईको खेल दर्शनीय रह्यो । उनले उदयपुरका खेलाडीले प्रहार बचाउ गरिन् । वुमन अफ द म्याच चन्द्रपुरकी दिलकुमारी रानामगर भइन् । उनले दुई गोल गरेकी थिइन् ।
बाह्रबिसे नगरपालिकाले विदूरलाई हराउँदा पार्वतले घलेले दुई गोल गरिन् । नवौं मिनेटमा अनु राईको गोलबाट टोलीले अग्रता बनायो । १४ औं मिनेटमा पार्वतीले दोस्रो गोल गरिन् । पहिलो हाफमै दुई गोलले पछाडि परेको नुवाकोटले एक गोल पनि फर्काउन सकेन । २३ औं मिनेटमा सुष्मा तामाङले तेस्रो गोल गरिन् । चौथो गोल २७ औं मिनेटमा पार्वतीले नै थपिन् । वुमन अफ द म्याच सिन्धुपाल्चोककी पार्वती घले भइन् । उनले ५ हजार पाइन् ।

 

खेलकुद

नेक्सस कप आयोजकलाई

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेक्सस क्रिकेट एकेडेमीले तेस्रो नेक्सस कप यू–१६ क्रिकेटको उपाधि जितेको छ । मूलपानीमा शुक्रबार फाइनलमा आयोजक नेक्ससले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई ६४ रनले पराजित गर्‍यो । टस जितेको नेक्ससले २० ओभरमा ४ विकेट गुमाई १ सय ५६ रन बनायो । म्यान अफ द म्याच सुवास ऐरले ४५ बलमा २ छक्का ११ चौका प्रहार गर्दै ७९ बनाए । विपीन शाहीले ५ चौका मदतमा ५० रन बनाए । केसीटीसीका विश्व कार्की र अथर्व पौडेलले १–१ विकेट लिए । केसीटीसीले ८ विकेट गुमाई ९२ रनमात्र बनाउन सक्यो । गोपाल जीसीले १५, दीपक डुम्रे र हेमु यादवले १४–१४ रन जोडे । नेक्ससका क्रिस कार्कीले ३ र विशाल केसीले २ विकेट लिए ।
विशाल म्यान अफ द सिरिज घोषित भए । जीएचसीएका विशाल पटेल उत्कृष्ट बलर र दीपक बोहरा उत्कृष्ट ब्याट्सम्यान भए । देउखुरी एकेडेमीका ११ वर्षे जीवन खनाल उदीयमान खेलाडी चुनिए ।
विजेताले १ लाख ११ हजार र उपविजेताले ७५ हजार रुपैयाँ पाए ।

खेलकुद

ऐंसेलुखर्कलाई उपाधि

- कान्तिपुर संवाददाता

खोटाङ (कास)– बुइपामा शुक्रबार भएको अन्तरपालिकास्तरीय पुरुष भलिबलको उपाधि ऐंसेलुखर्क गाउँपालिकाले जितेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङको आयोजनामा भएको प्रतियोगितामा बराहपोखरी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै ऐंसेलुखर्कले उपाधि जितेको हो । विजेताले १ लाख ११ हजार र उपविजेताले ७७ हजार ७ सय रुपैयाँ पुरस्कार पाए ।

खेलकुद

न्यु समिट विजयी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– न्यु समिट कलेजले प्रथम लुम्बिनी कप फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । चुच्चेपाटीस्थित लुम्बिनी एकेडेमीको मैदानमा शुक्रबार समिटले आयोजक लुम्बिनी ‘ए’ लाई २–१ ले हरायो । साइपालले ह्वाइटहाउसलाई १–०, रोयल्टीले भेनसलाई १–० र विट्स लिबर्टीलाई २–१ ले हराए । गणेश एकेडेमी, इन्साइट ‘बी’, टाइम्स, लुम्बिनी ‘बी’ र पिस प्वाइन्ट पनि विजयी भए ।

खेलकुद

जितगढी विजयी

- कान्तिपुर संवाददाता

भैरहवा (कास)– जितगढी क्रिकेट क्लव बुटवल भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । जितगढीले सिद्धार्थ रंगशालामा शुक्रबार लिग खेलमा साई ग्लोबल क्रिकेट क्लव भैरहवालाई ८ विकेटले हरायो । ९२ रनको सामान्य लक्ष्य जितगढीले १५.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । 

खेलकुद

एन्जल्स हर्ट कप हुने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एन्जल्स हर्ट स्कुलको आयोजनामा सातौं एन्जल्स हर्ट कप अन्तस्कुल बास्केटबल आइतबार सुरु हुँदै छ ।
प्रतियोगितामा २० छात्र टिमको सहभागिता रहने एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुनले जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ । स्पर्धा माघ २० सम्म चल्नेछ ।

Page 16
खेलकुद

साफदेखि एकदिवसीय क्रिकेटसम्म

कीर्तिपुर रंगशाला (मैदान)
- विनोद पाण्डे

(काठमाडौं) - दुई महिनाअघि काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सम्झना इतिहासमा सधैं रहिरहने छ । छोटो समयको तयारी बाबजुद आयोजना र कीर्तिमानी पदकीय सफलताको हिसाबमा नेपालले सागको पछिल्लो संस्करण विगतभन्दा विशेष बनाएको थियो ।
दक्षिण एसियाली खेलकुद नेपालको परिकल्पना हो । नेपालकै पहलमा दक्षिण एसियाली खेलकुदको सुरुआत भई पहिलो संस्करण काठमाडौंमै भएको थियो । यसलाई सुरुमा साफ भनिन्थ्यो । सन् १९८४ मा काठमाडौंमा आयोजित दक्षिण एसियाली खेलकुदलाई अहिले आएर सम्झनुपर्ने खास कारण छ ।
पहिलो दक्षिण एसियाली खेलकुदमा समावेश पाँचमध्ये एक खेल फुटबलको आयोजना दशरथ रंगशालामा मात्र सीमित भएन । यसका केही खेल कीर्तिपुर रंगशालामा भएका थिए । मनाङ मर्स्याङ्दी क्लबका हस्ती मुकेश शाहीले हालै विगतको आफ्नो फुटबल यात्रा स्मरण गर्दै कीर्तिपुर रंगशालामा फुटबल खेलिरहेको तस्बिर उत्खनन गरेका थिए ।
कीर्तिपुरमा फुटबल र क्रिकेट दुवै खेलिन लागियो । क्रिकेटका स्थानीय प्रतियोगिताहरू यही आयोजना भए । सन् १९९८ मा नेपालले दोस्रो एसीसी ट्रफी क्रिकेट आयोजना गर्ने भएपछि यस मैदानले काँचुली फेर्‍यो । जी टीभी (जी नेटवर्क) ले दूरगामी सोच राख्दै यसलाई क्रिकेट रंगशालाको रूपमा विकास गर्ने भयो । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वामित्वमा रहेको उक्त जग्गामा त्यसको सुरुवात जी टीभीले १९९९ मा टेम्पो लिजेन्ड कपको आयोजना गर्‍यो । भारत, पाकिस्तान र रेस्ट अफ द वर्ल्डका भेट्रान खेलाडी आएर कीर्तिपुरमा प्रतिस्पर्धा गरे ।
कीर्तिपुरलाई तटस्थ भूमि बनाउँदै जी टीभी भारत–पाकिस्तानको राष्ट्रिय टोलीको खेल आयोजना गर्न लागिपरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसलाई ‘असुहाउँदो मैदान’ घोषणा गरिदियो र जी टेलिभिजनको भारत–पाकिस्तानलाई कीर्तिपुरमा खेलाउने योजनामा ठूलो झट्का लाग्यो । जी टीभी यसबाट पछाडि हट्यो र मैदानको आकारमै छाडिदियो । अन्तर्राष्ट्रिय क्रिकेटलक्षित गरी बनाइएको यो भूमि मैदानमै सीमित रहयो । दुई दशक बितिसक्दा पनि यसले रंगशालाको आकार कहिल्यै लिएन ।
०००
कीर्तिपुर रंगशालाको स्तम्भ अहिले पनि त्यही स्थानमा यथावत् छ । त्यससँगैको स्थान भने अहिले कीर्तिपुर रंगशालाबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुर भएको छ । केहीले यसलाई कीर्तिपुर क्रिकेट रंगशाला पनि भन्छन् । कीर्तिपुर रंगशालाबाट क्रिकेट मैदान बनेको यही स्थलमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना हुँदै छ । आईसीसी विश्वकप क्रिकेट लिग २ ले अवसर जुराइदिएको हो ।
नेपालसहित अमेरिका र ओमानसम्मिलित त्रिकोणात्मक लिग २ माघ २२ देखि हुँदै छ । नेपालले पहिलोपल्ट लिग २ मा प्रतिस्पर्धा गर्दै छ । नेपालले घरेलु भूमिमा पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाए पनि नेपालले घरेलु भूमिमा भने यो आधिकारिक खेल खेल्न पाएको थिएन ।
‘विगत तुलनामा बाहिर र भित्र हेर्दा धेरै परिवर्तन गरेका छौं । तारजाली, बाउन्ड्री निर्माण, प्लेयर्स बक्समा सुविधा थपेका छौं । भीआईपी बक्स र पेभेलियनको पनि सुधार गरेका छौं । रंगरोगनको काम पनि भइरहेको छ,’ नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले भने, ‘आईसीसीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने भनेपछि केही मापदण्डहरू तोकेको थियो, त्यसअनुरुप हामीले मैदान र प्लेयर्स बक्समा सुधार गर्दै छौं । मैदान तयार भइसकेको छ, अन्य सम्पन्न हुनेक्रममा छ ।’
अहिलेसम्म २ सय ८ मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना भइसकेको छ । माघ २२ मा नेपालले ओमानसँग खेलेपछि त्रिवि क्रिकेट मैदान पनि यो सूचीमा समावेश हुनेछ । ओमान मस्कटस्थित अल एमेराट क्रिकेट रंगशाला एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने पछिल्लो मैदान हो । ओमानले आफ्नो पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय यही मैदानमा खेलेर नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय मैदानमा नेपालसँग खेल्न काठमाडौं आउन लागेको हो ।
पिच खनेर नयाँ बनाइएको क्युरेटर मधु तामाङ बताउँछन् । यो पनि एकदिवसीय अन्तर्राष्ट्रिय मापदण्डअनुरुप नै कार्य रहेको सिंह जनाउँछन् । सागलगत्तै पिच खनेर नयाँ बनाउन लागिएको थियो । क्यानको माग बमोजिम आईसीसीले मैदान र पिचको निर्माणका लागि श्रीलंकाका बन्दुला वार्नापुरालाई झिकाइएको सिंहले जनाए । श्रीलंकाका पहिलो टेस्ट कप्तान वार्नापुराको निर्देशनमा तामाङलगायतले पिच र मैदानको कार्य गरिरहेका छन् । पहिलोपल्ट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय आयोजना गर्न लागेकाले कुनै हिसाबमा नचुक्न वार्नापुरा ल्याइएको जनाउँदै सिंहले आईसीसीले भनेभन्दा अझ राम्रो गर्न आफूहरू लागिपरेको बताउँछन् । वार्नापुरा तीन सातादेखि कीर्तिपुर मैदानमा लागि परेका छन् । दर्शकका लागि मैदानको दक्षिणी भागमा महिला र पुरुषको छुट्टाछुट्टै शौचालय पनि बनाइएको छ ।
गएको एक महिनमा दुईपल्ट काठमाडौंमा परेको वर्षाले मैदानमा घाँस केही देखिए पनि पिच वार्नापुरा र तामाङले सोचेजस्तो हुन सकेको छैन । ‘रातिको शीत हिउँजस्तो परेकाले मैदान बिहान सेताम्ये हुने गर्छ । यसले मैदान र पिचमा घाँस राम्रोसँग उम्रन दिएको छैन । पिचमा घाँस रोपेर घाँस काटिसक्यौं, जुन हरियो घाँस आउनुपर्ने हो त्यो आएको छैन । अब त्रिपालले छोपेर बिहीबारदेखि पिचमा घाँस हरियो बनाउन लागेका छौं,’ क्युरेटर तामाङले भने ।
कीर्तिपुर मैदान परम्परागत रूपमा स्पिनमैत्री विकेट हो । वार्नापुरा घाँसेविकेट बनाउने उद्देश्यमा देखिन्छन् । शीतले घाँस राम्रोसँग उम्रन नदिएपछि उनले तामाङलाई फ्ल्याट विकेटका लागि पनि विकल्प हेरिहेका छन् । नेपाल, अमेरिका र ओमानले एकआपसमा गरी २–२ खेल खेल्ने छन् । माघ २९ सम्म चल्ने लिग २ मा कुल ६ खेल हुनेछन् । नेपालको विकेट कन्डिसन हेरेर अमेरिकाको टोलीले एक साता मुम्बईमा प्रशिक्षण गर्दै छ र सोक्रममा मुम्बई क्रिकेट संघको टोलीसँग ३ अभ्यास खेल खेल्दै छ ।
०००
अमेरिका १० वर्षपछि नेपाल आएर खेल्न लागेको हो । सन् २०१० मा अमेरिका विश्व क्रिकेट लिग डिभिजन ५ खेल्न पछिल्लोपल्ट नेपाल आएको थियो । ६ राष्ट्रसम्मिलित प्रतियोगिताको फाइनलमा नेपाल र अमेरिका नै पुगेका थिए । अमेरिकालाई फाइनलमा पराजित गरी नेपालले पहिलोपल्ट जितेको आईसीसीको प्रतियोगितालाई लिग चरणको खेलले नै ओझेल पारिदिएको थियो । नेपाल र अमेरिका लिग चरणको अन्तिम खेलमा भिड्दै थिए । जित्ने टोली फाइनलमा पुग्ने निश्चित थियो । हार्ने टोलीको टुंगो हुँदैन थियो । एउटा निश्चित नतिजा आएमा यो समीकरणले सिंगापुरलाई पनि फाइनल पुर्‍याउँथ्यो । आर्मी स्कुल भक्तपुरमा सिंगापुरले जर्सीलाई पराजित गरी नेपाल र अमेरिकाबीचको खेल कुरिरहेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाई १ सय ६२ रनमात्र बनाउन सक्यो ।
अमेरिका सजिलै विजय लक्ष्यतर्फ पुगेको अवस्थामा नेपाल बाहिरिने निश्चितजस्तै भइसकेको थियो । दर्शकले कीर्तिपुर मैदानमा ढुंगा प्रहार गर्न लागेपछि खेल अवरुद्ध बन्न पुग्यो । अवरुद्ध समयको ओभर घटाउँदा हारका बाबजुद नेपाल फाइनल पुग्यो । सिंगापुर हिस्स बन्यो । सिंगापुरले यसमा उजुरी हाल्यो । आईसीसीले कीर्तिपुर ढुंगा प्रहार काण्डका कारण छानबिन समिति बनायो । आईसीसीले कीर्तिपुर मैदानको स्थिति सुधार नभएसम्म अर्को अन्तर्राष्ट्रिय क्रिकेट खेल्न यहाँ खेल्न प्रतिबन्ध लगायो ।
तारजाली हालेर केही सुविधा थपेपछि आईसीसीले शर्तसहित प्रतिबन्धमा फुकुवा गरिदियो । तर त्यो पनि लिस्ट ‘ए’ मान्यता प्राप्तका लागि पर्याप्त भए । विश्व क्रिकेट लिगको संरचनामा डिभिजन २ मै रहेसँगै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पायो । यसमा खेलिएका खेलहरू लिस्ट ‘ए’ मान्यताका हुन्थे । यो भनेको एकदिवसीय अन्तर्राष्ट्रियभन्दा एक तहको मान्यता । कीर्तिपुर मैदानको सुविधा च्याम्पियनसिप खेलका लागि पर्याप्त भएन । जसका कारण नेपालले पपुवा न्युगिनीसँगको खेल तटस्थ भुमिको रूपमा यूएईमा गएर खेल्नुपर्‍यो । चेन्जिङ रुम, अफिसियल रुम, डाइनिङ हल लगायतका सुविधा थपिएपछि मात्र नेपालले नामिबिया र केन्यासँगको च्याम्पियनसिप खेल कीर्तिपुरमा खेल्न पाएको थियो ।
च्याम्पियनसिपबाट नेपाल एक कदम माथि उठ्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बन्यो । कीर्तिपुर मैदानले अझै रंगशालाको रूप लिन सकेको छैन । न्युनतम सुविधामात्र कीर्तिपुर मैदानमा थपिएका छन् । यही पूर्वाधारमा कीर्तिपुर मैदानले एकदिवसीय क्रिकेट अन्तर्राष्ट्रिय आयोजना गरेर इतिहास रच्दै छ ।

खेलकुद

कमल पहिलोपल्ट राष्ट्रिय टोलीमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कमलसिंह ऐरीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेट्दै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ का लागि शुक्रबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । लिग २ नेपालले पहिलोपल्ट खेल्न लागेको हो । नेपालसहित अमेरिका, ओमानसम्मिलित त्रिकोणात्मक शृंखला माघ २२ देखि २९ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
तीव्र गतिका बलर कमल यसअघि उमेर समूहमा नेपालको प्रतिनिधित्व गरे पनि राष्ट्रिय टोलीमा पर्न सकेका थिएनन् । उनीसहित अलराउन्डर कुशल मल्ल र मध्यम गतिका बलर अविनाश बोहरालाई लिग २ का लागि टोलीमा राखिएको छ । ट्वान्टी–२० खेल्दै आए पनि कुशल र अविनाशले नेपालबाट ५० ओभरको खेल खेलेका छैनन ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहने टोलीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश, कुशल, कमल, सुसन भारी, रोहितकुमार पौडेल, शरद भेषावकर, ललितनारायण राजवंशी छन् । पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतोलाई वैकल्पिकमा राखिएको छ । पोखरामा बन्द प्रशिक्षणमा रहेका सुनील धमला, लोकेश बम, कुशल भुर्तेल र सुमित महर्जन १८ सदस्यीय टोलीमा पर्न सकेनन् ।
अनुभवी वसन्त रेग्मी र सोमपाल कामीलाई टोलीमा राखिएको छैन । पुत्रीलाभका कारण वसन्त र चोटसँगै अस्वस्थताका कारण सोमपाल काठमाडौं र पोखराको दुवै क्याम्पमा थिएनन् । पारिवारिक वियोगका बावजुद अनुभवी ब्याट्सम्यान शरदले लिग २ खेल्ने भएका छन् । आफ्नो दाइको निधन भएपछि हाल नेपालबाहिर रहेका शरद लिग २ सुरु हुनुअघि नै टोलीमा समावेश हुने भएका छन् ।
अस्ट्रेलियामा बिग–बास खेलिरहेका सन्दीप तीन दिनअघि नेपाल आइपुग्ने तालिका रहेको जनाइएको छ । सन्दीपको मेलबर्न स्टार्सले शनिबार ब्रिसवेन हिटसँग लिगको अन्तिम खेल खेल्दै छ । त्यसपछि सन्दीप नेपाल आउने छन् । २० अंकसहित शीर्षस्थानको मेलबर्नले यसअघि नै प्लेअफमा खेल्ने निश्चित भइसकेको थियो ।

खेलकुद

लिभरपुल उपाधितर्फ अग्रसर

- एएफपी

(लन्डन) - लिभरपुल तीन दशकयता पहिलोपल्ट लिग उपाधि जित्ने संघारमा पुगेको छ । उल्भसविरुद्ध अन्तिम समयमा गरेको गोल मदतले लिभरपुलले सफलता पायो । अर्कोतर्फ म्यानचेस्टर युनाइटेड बर्नलीको हातबाट पराजित हुँदै सबैभन्दा खराब स्थितिमा खस्केको छ । इंग्लिस प्रिमियर लिगको मध्यसाता भएको एक चरणका खेलका तीन मुख्य विशेषतालाई लिएर फ्रान्सेली समाचार संस्थाले गरेको विश्लेषण यस्तो छ :
च्याम्पियन जस्तो लिभरपुलको प्रदर्शन
मिडल्यान्डको चिसो जनवरी रातमा उल्भसले चर्को दबाब त सिर्जना गर्‍यो, तर युरोपेली च्याम्पियन लिभरपुल पग्लेन । उसले जोर्डन हेन्डरसनको गोलले अग्रता लिएयता चोटका कारण साडियो मानेलाई गुमायो । लगत्तै लिभरपुलले पछिल्लो ८ लिग खेलयता पहिलोपल्ट विपक्षी टिमलाई गोलको अवसर पनि थियो । एडम टाउरेको पासमा राउल जिमिनेजले बराबरी गोल गरे । लिभरपुलका लागि ब्राजिली गोलरक्षकले यिनै टाउरे र जिमिनेजको चर्को आक्रमणको पनि सामना गर्नुपर्‍यो । तर पछिल्लो समय लिभरपुलको विशेषता नै रहेको छ, खेलको अन्त्यतिर गोल गर्ने । यो नै उसलाई ३० वर्षयता पहिलोपल्ट लिग उपाधि दिलाउने निर्णायक कारण पनि हुनसक्छ । जतिबेला टिमलाई यस्तै जादुयी क्षण आवश्यक हुन्छ, त्यतिबेला यही काम गर्छन्, अर्का ब्राजिली खेलाडी रोबर्टो फिर्मिनोले । उनको गोल मदतले लिभरपुलले खेलमात्र जितेन, दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि १६ अंकको अग्रता पनि खोलेको छ ।
त्यो पनि एक खेल कम खेलेर । त्यसैले त लिभरपुल व्यवस्थापक योर्गन क्लोपले भने, ‘खेल जित्न बाटो बनाउनुपर्छ र यसका लागि कोही खेलाडीले मैदानमा निर्णायक प्रदर्शन पनि गर्नुपर्छ । हाम्रा लागि यो काम गरिरहेका छन् बबीले ।’ उनको संकेत फिर्मिनोतर्फ थियो र भने, ‘बबीले जुन गोल गरे, त्यो माथिल्लो दर्जाको छ ।’ लिभरपुल पछिल्ला २३ खेलमध्ये २२ मा विजयी छ । लिगमा लिभरपुलको यो लगातार १४ औं जित पनि हो ।

सोल्सायर चर्को दबाबमा
बर्नलीविरुद्ध घरमै बेहोरेको २–० को हारले म्यानचेस्टर युनाइटेडलाई अथाह पीडा दिएको छ । व्यवस्थापक ओले गनर सोल्सायरसामु ठूलो चुनौती छ, क्लबको कमजोरी ठीक पार्ने । नत्र क्लबमा उनको भविष्य आफैंमा छोटो हुनसक्छ । त्यसो त अहिलेसम्म क्लबको मालिक ग्लेजर परिवार सोल्सायरको समर्थनमै छ । तर प्रश्न हो, यो समर्थन कहिलेसम्म रहने हो, यदि टिमको प्रदर्शन यस्तै लगातार कमजोर रहने हो भने । बर्नलीले ओल्ड ट्राफोर्डमा अन्तिमपल्ट सन् १९६२ मा जितेको थियो । त्यसैले यसपल्ट प्राप्त उसको जितले सोल्सायरसामु रातो मुख बनाउनुबाहेक अर्को विकल्प रहेन । त्यतिमात्र होइन, उनीसँग अहिले क्लबले सामना गरिरहेको समस्या समाधान गर्ने उपाय पनि छैन । सन् १९८९–९० को सिजनयता म्यानचेस्टरले लिगमा सबैभन्दा कमजोर सुरुआत लिएको छ । चौथो स्थानमा रहेको चेल्सीसँग पनि म्यानचेस्टर ६ अंकको दूरीमा छ ।
म्यानचेस्टरले आइतबार एफए कपको चौथो चरणमा तेस्रो डिभिजनको क्लब ट्रान्मेरेको सामना गर्दै छ । यसमा पनि हार बेहोरे साह्रै नमज्जा हुने स्थिति छ । फेरि म्यानचेस्टर लिग कपबाट पनि बाहिरिने तयजस्तै छ, किनभने सेमिफाइनल पहिलो लेगमा म्यानचेस्टर छिमेकी म्यानचेस्टर सिटीसँग ३–१ ले पराजित भइसकेको छ । यसलाई दोस्रो लेगमा उल्टाउने काम सजिलो छैन । सोल्सायरले खाली टिमको समस्या समाधान गर्न थप समय मागिरहेका छन् ।

मुटु छ आर्सनलको पनि
आर्सनल शीर्ष चारबाट १० अंकको दूरी टाढा छ । टोली दसौं स्थानमा छ । उसले पछिल्ला लिगका ५ खेलमध्ये खाली एकमात्र जित निकाल्न सकेको छ । यो सबै नयाँ व्यवस्थापकका रूपमा माइकल आर्टेटा आएयता हो । तर यी स्पेनी प्रशिक्षक पक्कै पनि चेल्सीविरुद्ध प्राप्त २–२ को बराबरीमा खुसी छन् । त्यस खेलमा आर्सनल १० खेलाडीमा सीमित थियो । स्टानफोर्ड ब्रिजमा भएको यस खेलमा सुरुमै एक गोलले पछाडि परेको थियो । आर्सनलले खेलमा आफ्नो संघर्ष जारी राख्यो, कहिले पनि खेलमा आत्मसमर्पण गरेन । खासमा यो नै पछिल्लो एक दशकमा आसर्नलले पस्कने गरेको खेलको विशेषता हो । यसपल्ट फेरि आर्सनलको खेलमा यस्तै विशेषता देखियो । आर्सनलले दुई अवसरमा खेलमा सफलतापूर्वक फर्केको स्थिति रचेको थियो । अझ बराबरीको निर्णायक गोल गर्ने खेलाडी थिए, १८ वर्षीय ग्याब्रियल मार्टिनेली । उनलाई आर्सनल टिमको भविष्य पनि मान्न सुरु भएको छ ।

खेलकुद

कोसी र एभरेस्ट विजयी

- कान्तिपुर संवाददाता

विराटनगर (कास)– हिसान मोरङ स्पोर्टस मिटमा शुक्रबार कोसी, एभरेस्ट र सगरमाथा कलेज विजयी भएका छन् ।
क्रिकेटतर्फ कोसी र पथरीको एभरेस्टले जित पाए । कोसी मल्टीपलले कान्तिपुर कलेजलाई ३१ रन हरायो । कोसीले १ सय २४ रनको बनाउँदा अमित मण्डलले ३२ र सोनु मण्डल २९ रन बनाए । कान्तिपुरका महमद निसारले ३ र दीपजलसिंह धामीले २ विकेट लिए । जवाफमा कान्तिपुरले ९ विकेट गुमाई ९३ रनमात्र बनायो । रुपेश खड्काले ३० र रोशन तामाङले २१ रन बनाए । कासीका म्यान अफ द म्याच उदयशंकर यादवले ४ विकेट लिए । एभरेस्टले सगरमाथालाई ७ विकेटले हरायो । सगरमाथाले ७१ रन बनायो । ७२ रनको लक्ष्य एभरेस्टले १६.२ ओभरमा ३ विकेट गुमाई पूरा गर्‍यो ।
फुटबलमा सगरमाथाले वीकेभीएम स्कुललाई १–० ले र उर्लाबारीको सुनगाभा कलेजलाई ३–२ ले पराजित गरे ।

Page 17
कोसेली

राष्ट्रवादको जालझेलमा रैथाने संगीत

लामो इतिहास र विविधताले सम्पन्न भए पनि नेपाली संगीतको आफ्नै परिचय बन्न सकेको छैन । किन ? यहाँ यसको कारण खोतल्ने प्रयास गरिएको छ ।
- अनुप सुवेदी

संगीतका अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संगीतका मूर्धन्यले गरेको सांगीतिक प्रस्तुतिपछि विदेशीको प्रश्न हुन्छ, ‘तिम्रो संगीत राम्रो थियो तर किन इन्डियन संगीत प्रस्तुत गरेको ? के नेपालको आफ्नै संगीत छैन ?’ चीनमा भएको एउटा संगीत सम्मेलनमा सांगीतिक प्रस्तुतिपछि यस्तै खालका प्रश्नको सामना गर्नुपरेपछि आफू झस्किएको अम्बर गुरुङले एउटा अन्तर्वार्तामा बताएका थिए । यो झस्काइ अम्बर गुरुङको मात्र होइन, नेपाली संगीत क्षेत्रको नै झस्काइ हुनुपर्ने थियो । तर... ? एकातिर नेपाली संगीतले यस्तो झस्काइ महसुस गरेकै छैन भन्ने अनुभव हुन्छ भने अर्कोतिर नेपालमा संगीतको इतिहास निकै लामो र व्यापक भए पनि यसको आफ्नो परिचय किन बन्न सकेन भन्ने खुल्दुली हुन्छ ।
संगीतको इतिहास मानव समाजको विकाससँगै जोडिन्छ । कृषि कर्मसँग जोडिएको जीवनमा सामाजिक व्यवहार, संस्कार, परम्परा, रीतिथिति, चाडपर्वसँग रैथाने संगीत अभिन्न भएर आउँछ । त्यसैले नेपालमा संगीत यहाँका विविध जाति, समुदाय र सभ्यतासँग जोडिन पुग्छ । नेपालमा रहेको व्यापक भौगोलिक, सांस्कृतिक तथा जातीय विविधताले रैथाने संगीतको सम्पन्नतालाई झल्काउँछ । यो विविधता स्वर, लय र बाजामा पनि रहेको छ । तर, लामो इतिहास र विविधताले सम्पन्न भए पनि नेपाली संगीतको आफ्नो परिचय बन्न भने सकेको छैन । किन ? यहाँ यसको कारण खोतल्ने प्रयास गरिएको छ ।
रैथाने संगीतको विकास गरेर नै संगीतमा आफ्नो छुट्टै परिचय निर्माण हुने हो । आफ्नो परिचय बनाएका संगीतको इतिहासले यसै भन्छ । रैथाने संगीतको विकास गरेर नै आफ्नो संगीतको परिचय बनाएका चीन, कोरिया, जापान, न्युजिल्यान्ड आदि देशका संगीत केही उदाहरण हुन् । नेपालका रैथाने संगीतको विकास अवरुद्ध गरिएको हुनाले नेपाली संगीतको आफ्नो परिचय बन्न सकेन । तर, रैथाने संगीतको विकास अवरुद्ध हुने कारण के थिए ? कसरी यहाँका रैथाने संगीतको विकासमा रोकावट आयो ? स्वाभाविक प्रश्न हुन् । नेपालमा संगीतको लामो इतिहास भए पनि यसको गतिलो अध्ययन भएको छैन । त्यसैले नेपालको संगीतको विकासक्रमको कुरा गर्दा तथ्य र आधारहरूको अभाव खट्किन्छ ।
काठमाडौंमा रहेका मल्लकालका मन्दिर र दरबारले त्यसवेलाको कलाको विकास र सम्पन्नताको बयान गर्छन् । नृत्य र संगीतको सम्पन्नता यहाँ विभिन्न अवसरमा हुने परम्परागत नाचले बताउँछन् । राज्य विस्तारको क्रममा पृथ्वीनारायणले उपत्यका जितेपछि यसको समयानुकूल विकास अवरुद्ध भयो । त्यसपछि भएका हरेक ठूला राजनीतिक घटना र प्रयोगमा ल्याइएको प्रविधि रैथाने संगीतको ‘भिलेन’ बनेको छ । यहाँ ती घटनाले रैथाने संगीतलाई कसरी प्रभावित पारे भनेर हेर्ने प्रयास
गरिएको छ ।
पृथ्वीनारायणको उपत्यका विजयदेखि जंगबहादुरले बलपूर्वक सत्ता हत्याउँदासम्म नेपाल अस्थिरताबाट गुज्रिएको थियो, राज्य विस्तारको युद्ध र त्यसपछि दरबारभित्रको अन्तर्कलहले । जंगबहादुरले नेपाली सेनामा पश्चिमा (युरोपीय) शैलीको संगीत ब्यान्ड स्थापना गरे । अर्कोतर्फ ब्रिटिस इन्डियाका राजारजौटाको देखासिकी गर्दै भारतीय शास्त्रीय संगीतका उस्तादहरूलाई झिकाई गीत संगीत सुन्न थाले । यो क्रम जंगबहादुरपछि पनि निरन्तर रह्यो । राणाहरूले आफूलाई भारतीय रजौटाहरूजस्तै सभ्य र संगीतमा रुचि सम्पन्न भएको देखाउन दरबारमा मैदानी इलाकाका उस्तादहरूबाट भारतीय शास्त्रीय संगीतको प्रस्तुति गर्न लगाई तिनलाई राम्रो पारिश्रमिक र गतिलो बक्सिस दिने गर्थे भनेर इतिहासकारहरूले उल्लेख गरेका छन् । राणा शासकका यस्ता गतिविधिले यहाँका रैथाने संगीतभन्दा शास्त्रीय संगीत उच्चकोटीको भन्ने मान्यता स्थापित गर्‍यो । यसले रैथाने संगीतप्रति हिन भावना जगाई यसलाई पाखा पार्न मद्दत गर्‍यो । राज्यको स्रोत पनि रैथाने संगीतमा होइन, मैदानी भूभागबाट भारतीय शास्त्रीय संगीतका उस्ताद झिकाउन खर्च भयो भने आर्थिक रूपमा पनि रैथाने संगीत उपार्जन नगर्ने बन्यो । तर, काठमाडौं उपत्यकामा गुठी प्रचलनले संस्कार, परम्परा, जात्रामा संगीत र नृत्यलाई निरन्तर बनाउन मद्दत पुगे पनि शासकको व्यवहारले रैथाने संगीतको विकासमा भने बाधा सिर्जना गर्‍यो ।
राणा शासकका दरबारमा गायन, नर्तनकै लागि मान्छे राख्ने गरिएको कुरा बालकृष्ण समले ‘मेरो कविताको आराधन’ मा उल्लेख गरेका छन् । तर, उनीहरूले पाउने तालिम र गीत भने तिनै शास्त्रीय राग र हिन्दी गीत हुन्थे । राणा शासकका दरबारमा हिन्दी फिल्म हेर्ने प्रचलन भित्रिएसँगै ती दरबारका गीत–संगीत पनि हिन्दी फिल्मबाट लिन थालिए । राणा दरबारमा हिन्दी फिल्मका ती गीत मानक बने । त्यसैले नेपालीमा बनाएका गीत पनि तिनै हिन्दी गीतबाट प्रभावित भए । यसको प्रभाव राणाका दरबारबाट बाहिर पनि फैलियो । त्यसैले नेपालका पुराना गीतका संगीत र गाउने शैली हिन्दी गीतजस्तै लाग्छन् । लेखपढ गर्न पनि रोक लगाएर राणाकालमा नयाँ विचार र बाह्य प्रभावबाट नेपाली समाजलाई निरपेक्ष राख्ने प्रयत्न गरिएको थियो । तर, संगीतमा भने बाह्य संगीतको प्रभाव भित्र्याउँदा रैथाने संगीतको विकासमा बाधा उत्पन्न भयो ।
२००७ सालमा पारिवारिक रूपमा चलेको राणा शासनको अन्त्य र रेडियो स्टेसनको स्थापनाले यहाँको रैथाने संगीतको लागि नयाँ ढोका खुलेको थियो । तर, सरकारको प्रसारण नीतिले रेडियो पनि रैथाने संगीतको ‘भलेन’ बन्यो । रेडियो नेपालमा बज्ने गीत–संगीतमा रैथाने संगीतले स्थान पाउन सकेन । रेडियोमा रैथाने भाषा प्रसारणमा रोक लगाएपछि रैथाने भाषाका गीत–संगीत पनि प्रतिबन्धमा परे । नेपालभित्रका विविध भाषा, संस्कृतिमा रहेका गीत, संगीत प्रसारणमा रोक लागे पनि हिन्दी गीत, उर्दूका गजल र भारतीय शास्त्रीय संगीत भने प्रसारण भइरहे । यो अवस्थाले रैथाने गीत/संगीत खुम्चिन बाध्य भए भने हिन्दी गीत र शास्त्रीय संगीतको प्रचार नेपालको रेडियोले नै गरिरह्यो ।
२०१७ सालमा महेन्द्रले शक्तिको आडमा पञ्चायती व्यवस्था लादेपछि रैथाने संगीतको अवस्था झन् खराब भयो । जाति, भाषा, संस्कृतिको विविधता भएको देशमा महेन्द्रले ‘एउटा राजा एउटा देश, एउटा भाषा एउटा भेष’ भन्दै ‘नेपाली जाति’ को राष्ट्रिय एकात्मक पहिचान निर्माणको अभियान चलाए । यसको लागि साहित्य, कला, संगीत सबै विधाको उपयोग गरे । राष्ट्रियताको मानकको रूपमा राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय पन्छी डाँफे र सगरमाथा स्थापित गरेर पहाडे हिन्दु खसका अवधारणालाई राष्ट्रियताको आधार बनाउँदा भाषिक, सांस्कृतिक विविधतालाई ओझेलमा पारियो । ‘वीर नेपाली’ को काल्पनिकी तयार पारियो । यसलाई राष्ट्रियताको आधारको रूपमा स्थापित गर्न पञ्चायतकालमा पाठ्यपुस्तक र पाठ्यक्रमको उपयोग गरिएको बारेमा प्रत्यूष वन्तले लेखेका छन् ।
‘वीर नेपाली’ र ‘पञ्चायतको राष्ट्रियता’ को अवधारणा फैलाउन गीत–संगीत पनि बलियो माध्यम बन्यो । यसको लािग महेन्द्रले अम्बर गुरुङलाई नेपाल बोलाए । अम्बर गुरुङले अगमसिंह गिरीले ‘प्रवासी नेपाली’ को दुःखका बारेमा लेखेको गीत ‘नौलाखे तारा उदाए’ लाई संगीत भरेर २०१८ सालमा गाइसकेका थिए । त्यतिबेला भारतमा रहेका नेपालीभाषी प्रवासी हुन् कि भारतीय नेपाली हुन् भन्ने ख्याल नगरी गाइएको उक्त गीतले अम्बर गुरुङलाई प्रसिद्धि दिएको थियो । तर, अर्कोतर्फ भारतीय नेपालीका बारेमा भारतीय सत्तामा संशय पनि उत्पन्न गरायो (उनले ‘नौलाखे तारा उदाए’ पछि ‘सुगौली सन्धि बिर्सेका छैनौं’ भन्ने गीत पनि गाएका थिए) ।
दार्जिलिङमा हुर्केका अम्बर गुरुङले रवीन्द्रनाथ ठाकुरले रचना गरेको र पश्चिम बंगालमा प्रवर्द्धन गरिएको रवीन्द्र संगीत र युरोपीय संगीतबाट प्रशिक्षत हुने अवसर पाएका थिए । संगीतमा आफ्नो भविष्य बनाउँदै गरेका उनलाई महेन्द्रले बोलाएपछि २०२६ सालमा नेपाल आएर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशक बने । महेन्द्रले दार्जिलिङका साहित्य, संगीत, चित्रकलामा रहेका नेपालीभाषी प्रतिभालाई नेपाल बोलाए । नेपालमा स्थान दिए । तिनैमध्ये अम्बर गुरुङ पनि एक थिए । अम्बर गुरुङजस्तै उनका चेला गोपाल योञ्जन पनि काठमाडौं आए ।
त्यसरी बोलाइनेमा दार्जिलिङ क्षेत्रबाट नै किन त ? महेन्द्रले प्रवर्द्धन गरेको नेपाली भाषा र नेपाली जातिको पहिचानको अवधारणा दार्जिलिङमा प्रवर्द्धन गरिएको अवधारणासँग मेल खान्छ । विसं १९७२ मा प्रकाशन सुरु भएको पत्रिका ‘गोर्खाली’ का सम्पादक सूर्यविक्रम ज्ञवाली, खर्साङबाट प्रकाशित हुने मासिक पत्रिका ‘चन्द्रिका’ का सम्पादक पारसमणि प्रधान र चन्द्रिकामा नियमित लेख्ने कवि धरणीधर कोइराला नेपाली भाषा र नेपाली जातिको अवधारणाको प्रचार गर्ने प्रमुख व्यक्ति थिए । प्रत्यूष वन्तका अनुसार, भारतको स्वतन्त्रता संग्रामबाट प्रेरणा लिएर नेपाली भाषा र नेपाली जातिको स्वतन्त्र पहिचान निर्माण गर्न उनीहरू लागिपरेका थिए । यी तीन बन्धुले गरेको ‘नेपाली जाति’ र ‘नेपाली भाषा’ को परिकल्पना र प्रचारले दार्जिलिङ क्षेत्रमा राम्रै प्रभाव पारेको थियो । त्यसैको प्रभावले नै अगमसिंह गिरिले ‘नौलाखे तारा उदाए’ लेखे र अम्बरले गाए ।
महेन्द्रको नेपाली राष्ट्रियताको अवधारणा र सूधपाको ‘नेपाली जाति’ र नेपाली भाषाको अवधारणामा समानता भएकैले दार्जिलिङ क्षेत्रका प्रतिभालाई महेन्द्रले सुरक्षित ठाने । उनीहरू पनि नेपालमा आएर महेन्द्रीय राष्ट्रवादको अवधारणा अगाडि बढाउने गीत–संगीत रचनामा दत्तचित्त रहे । त्यसैले वीरताको बखान गरिएका, गुराँस, हिमाल, ढाकाटोपी, दौरा–सुरुवाल, डाँफे, खोला नाला र झरनाको गीत लेख्ने र गाउने काम भयो । सजातीय एकात्मक राष्ट्रियतालाई आम मानिसमा स्थापित गर्न ती गीत संगीतले महत्त्वपूर्ण योगदान दिए । महेन्द्रले प्रवर्द्धन गरेको राष्ट्रवाद अम्बर गुरुङ, गोपाल योञ्जनका गीत, संगीतमा प्रभावशाली बनेका छन् ।
अम्बर गुरुङले नेपालको संगीतमा आधुनिकता भित्र्याए । आधुनिक संगीत भनेर युरोपीय संगीतको प्रभावलाई भनिएको हो । अहिले चलनमा रहेको सुगम संगीतलाई पहिला आधुनिक संगीत भनिन्थ्यो । रवीन्द्र संगीत र युरोपीय संगीतको प्रशिक्षणले अम्बर गुरुङलाई स्थानीय आवश्यकताअनुसार, भारतीय शास्त्रीय संगीत वा युरोपीय शैलीको उपयोग गर्न समर्थ बनायो । उनले
आफ्नो सामर्थ्यलाई नेपालमा संगीत सिर्जनामा भरपूर उपयोग गरे । यसले यहाँ युरोपीय शैली भित्रिन मद्दत पुग्यो । अम्बर गुरुङको पदचापलाई पछ्याउँदै दार्जिलिङबाट उनका चेलाहरू गोपाल योञ्जन, कर्म योञ्जन, शान्ति ठटाल आदिले पनि नेपाली संगीतमा पाइला राखे । तर, रैथाने संगीतमा भने यसको नकारात्मक प्रभाव पर्‍यो ।
आधुनिक (सुगम) संगीत भनिएको ती संगीतले शास्त्रीय संगीत र युरोपीय संगीतलाई मानक बनाए । यसले रैथाने संगीतलाई प्रशोधन नभएको, मानकबिनाको, तल्लो स्तरको र कमजोर भन्ने अवधारणालाई मलजल गर्‍यो । युरोपमा विकास गरिएका बाजा र तिनका ध्वनिलाई मानक बनाएपछि रैथाने बाजा बेसुरा र निम्न स्तरको भन्ने मान्यता स्थापित भयो । यसले रैथाने संगीतको विकास अवरुद्ध बन्यो । राज्यले पनि रैथाने संगीत दबाउन यी संगीतलाई प्रवर्द्धन गरिरह्यो । त्यसैले राज्यको चाहनाबमोजिम नै आधुनिक भनिए पनि समाजको अन्तर्विरोध झल्कने खालका गीत–संगीत त्यसबेला रचिएनन्, गाइएनन् । गायक/संगीतकारहरू कलाकारले राजनीतिमा लाग्न हुन्न भन्ने पञ्चायती राजनीति घोकिरहे र पञ्चायतको राजनीतिलाई सघाइरहे ।
संगत गर्नेहरूको सम्झनामा अझै छ, अम्बर गुरुङ लोकगीतलाई रुचाउँदैनथे, तल्लो दर्जाको ठान्थे । साहित्यकार इन्द्रबहादुर राईले आफूले अम्बरलाई ‘कति सुगम संगीतमा मात्र अल्झिनुभएको, ठूलो संगीत पनि गर्नुहोस् । अचेलको गीत ठूलो संगीत होइन’ भन्ने गरेको उल्लेख गरेका छन् । उनले अम्बरलाई सुझाएका पनि छन्, ‘हामी सुगम संगीतबाट मास्तिर हेरौं । त्यता पनि पुगौं । सबै लोक गायनबाट उच्च रूप लिएर संसारमा प्रसिद्ध भए । नेपाली लोक धुन, लोक नाचलाई प्रयोग गरौं’ । इन्द्रबहादुर राईले भनेका छन्, ‘तर, कसैबाट नेपाली लोक संगीतको प्रयोग गरी उच्च संगीतको निर्माणको काम भएन ।’
रेडियो नेपाल, प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थानले आयोजना गर्ने गायन, संगीतको प्रतियोगीता पनि यही आधुनिक संगीतलाई लक्षित गरी गरिन्थ्यो । सरकारले राजाका जन्मोत्सव र अन्य मनोरञ्जनका कार्यक्रममा लोकगीतको नाममा नाच्न मिल्ने चुड्के गीतलाई समावेश गर्थ्यो र लोक गीतलाई स्थान दिएको भ्रम सिर्जना गरिन्थ्यो । यो भ्रम सिर्जना गर्ने काम नेपाली चलचित्र निर्माण थाल्दादेखि नै सुरु गरिएको थियो ।

चलचित्रमा हिन्दी फिल्ममा जस्तै केही गीत राख्ने, त्यसमध्ये अधिकांश आधुनिक गीत र एउटा नृत्य त्यस्तै चुड्के धुनमा राख्ने चलन चलाइयो । नेपालमा चलचित्र निर्माण पनि राज्यको लगानी र नियन्त्रणमा सुरु भएको हो । चलचित्रलाई पनि पञ्चायतको राजनीति स्थापित गर्ने औजारको रूपमा उपयोग गरिएको थियो ।
नेपालमा गीत रेकर्डिङको प्राविधिक सुविधा नहुँदा मुम्बई जाने गरिन्थ्यो । सरकारले रेकर्डिङ संस्थान स्थापना गरे पनि रेकर्डिङ स्टुडियो भने स्थापना गरेन । पछि स्टुडियो बनेपछि पनि नेपाली चलचित्रको गीत रेकर्डिङका लागि मुम्बई जान रोकिएन । नेपालमा वाद्यवादन समूह र अर्केस्ट्रा नभएको बाहना थियो । मुम्बईमा गीत रेकर्ड गर्ने प्रचलनले पनि नेपालको रैथाने संगीतको विकासमा बाधा बन्यो । मुम्बईमा गीत रेकर्ड गर्ने भएपछि नेपालका आफ्ना बाजागाजाको प्रयोग हुने भएन र विकास हुन पाएन । भारतीय अर्केस्ट्राको प्रयोग गर्दा बाजाका स्वर उस्तै हुनाले नेपाली संगीत पनि भारतीयजस्तै सुनिने भए । यसले नेपाली रैथाने बाजाले स्तरीय स्वर र धुन दिन सक्छ भन्ने ज्ञान र आत्मविश्वास पनि पलाउन सकेन । आर्थिक रूपमा पनि मुम्बईका अर्केस्ट्रा र स्टुडियोलाई फाइदा भयो । मुम्बईमा गीत रेकर्ड गर्ने चलन पनि रैथाने कलाकारको आकांक्षा र स्थानीय बाजाको विकासमा बाधक बन्यो । अहिले पनि बहुल संगीतकार रैथाने बाजा गुणस्तरीय संगीत निर्माण गर्न योग्य छैन भन्ने मान्यता राख्छन् । अन्य संगीतकार भने स्थानीय बाजा पश्चिमी बाजाको स्वरको मापअनुसार मिल्दैन भन्ने ठान्छन् ।
नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधता यहाँको रैथाने संगीतमा झल्कन्छ । विविध समुदायको रीतिरिवाज, संस्कार, चाडपर्व, मेलापात, जन्म, विवाह, मृत्यु आदिमा गाउने–बजाउने संगीतको भाका, लय, मनस्थिति, स्वर, बाजा सबैमा विविधता व्यापक छ । भूगोल, भाषा र संस्कृतिले मानिसको गलाको स्वरमा पनि विविधता आउँछ । त्यो विविधता नेपालका रैथाने गीत/संगीतका स्वरमा पनि झल्किन्छ । संगीतकार किशोर गुरुङले आफ्नो घाटु गीतसम्बन्धी अध्ययनको निचोडमा नेपालका रैथाने गीत/संगीतको स्वरका प्रकार र गुण युरोपीय संगीत वा भारतीय शास्त्रीय संगीतको स्वरका गुणभन्दा फरक हुनाले यसको स्तरीकरण आफ्नै प्रकारको हुनुपर्छ भनेर लेखेका छन् ।
रैथाने संगीतजस्तै रैथाने बाजाका ध्वनीको पनि आफ्नै विशिष्ट गुण र चिनारी हुन्छ । रैथाने बाजाको ध्वनिले कुनै पनि संगीत सुन्नेबित्तिकै चिन्न सकिने बनाउँछ । चीन, कोरिया, जापान वा न्युजिल्यान्डको संगीत सुन्नेबित्तिकै चिनिने त्यसमा प्रयोग भएका स्थानीय बाजको ध्वनिको विशिष्टताले हो । त्यसपछि बल्ल हाम्रो ध्यान संगीतको धुन र लयमा जान्छ । युरोपीय बाजालाई मानक मान्ने मानसिकताले नेपालका रैथाने बाजाको प्रयोगमा बाधा बनिरह्यो । यसले रैथाने बाजालाई विकास गर्दै र आफ्नै प्रकारको स्तरीकरण गर्ने बाटो थुनियो । प्रयोग नहुँदा रैथाने बाजा बनाउने, बजाउने सीप पनि हराउँदै गएको छ ।
नेपाली रैथाने संगीतलाई जालझेल गर्न टेलिभिजनको स्थापनाले पनि मद्दत गर्‍यो । नेपाल टेलिभिजनबाट प्रसारण भएका रैथाने संगीतमा सूक्ष्म अध्ययन, सांस्कृतिक विविधताप्रतिको सम्मान र संवेदनशीलताको अभावले ती गीत/नृत्य र संगीतमा आधिकारिकता नहुँदा लोकसंगीतप्रतिको धारणा बिगार्न मद्दत गर्‍यो । दृश्यमा देखिने ‘डिटेल’ का सूक्ष्म कुरामा भएका फरकले पनि प्रस्तुतिलाई अविश्वसनीय बनाउँछ र त्यसको आधिकारिकता गुम्छ । आधिकारिकता गुमाएको रैथाने संगीत/नृत्यले अपनत्व पनि गुमाउँछ । त्यसैले रैथाने संगीतका सूक्ष्म कुराप्रति संवेदनशीलता र सम्मान नहुँदा त्यसको प्रस्तुति खराब बन्छ । यो खराबीलाई अझै बढाउन बजारले भूमिका खेल्छ । अहिले लोकगीतको नाउँमा चलिरहेको दोहोरीको बाढी त्यसैको उपज हो । बजारमा चल्ने नाउँमा उस्तै धुन र उही कुरा भएका उस्तै शब्दहरू हजारौंपटक दोहोर्‍याइरहँदा पनि आफूलाई सर्जक ठान्ने व्यक्तिहरूलाई असजिलो नलाग्नु अनौठो छ । त्यही चल्ने नाममा केही चुट्के गीतलाई प्रवर्द्धन गर्ने बजारको प्रवृत्तिले रैथानेको संगीतमा रहेको विविधतालाई ध्वस्त पार्दै रैथाने संगीतलाई निश्चित ‘टाइप’ मा सीमित बनाइरहेको छ । यसले रैथाने संगीतको विकासलाई अवरुद्ध पार्न मद्दत गरेको छ ।
पञ्चायतकालमा ‘एक भाषा एक भेष’ को राष्ट्रवाद निर्माणमा उपयोग भएका रेडियो, टेलिभिजन र चलचित्रको मनस्थिति बहुदल आएपछि पनि परिवर्तन भएन । रेडियो, टेलिभिजन र चलचित्रको प्रभाव गाउँगाउँमा फैलँदै जाँदा रैथाने (लोक) संगीतलाई बाह्य संगीतले विस्थापित गरेको छ । गाउँगाउँमा स्थानीय समुदायले रैथाने गीत/संगीतको साटो रेडियो टेलिभिजनबाट प्रसारण हुने गीत/संगीतको प्रयोग गर्न थालेका छन् । रैथाने संगीतबाट गरिने स्वमनोरञ्जनको स्थान रेडियो र टेलिभिजनमा प्रसारण हुने चलचित्रका गीतले लिएको छ । यो क्रमलाई बजारले अझै मलजल गरेको छ । रैथाने गीत/संगीतप्रति सम्मान र संवेदनशीलतको अभावले स्थानीय समुदायमा रैथाने गीत/संगीतको प्रयोग घट्दै जाँदा बालबालिका रेडियो, टेलिभिजनबाट प्रसारण हुने गीत/संगीतबाट प्रशिक्षित भएका छन् । यसले नयाँ पुस्तामा आफ्नो समुदायको रैथाने गीत/संगीत हराउने परिस्थिति बनेको छ । राज्यको लामो समयको बेवास्ताले रैथाने संगीत हराउँदै जाने गतिलाई रेडियो र टेलिभिजनको प्रभावले तीव्र बनाएको छ ।
नेपालले संगीतमा पहिचान बनाउन रैथाने संगीत र बाजाको विकासबाट नै सम्भव हुने हो । संविधानमा नै भाषा, जाति, सांस्कृतिक विविधता भएको राष्ट्रको रूपमा उल्लेख गरिए पनि रैथाने संगीतमा त्यसको प्रभाव अनुभव भएको छैन । रैथाने संगीतलाई जोगाउन र विकास गर्न महेन्द्रले प्रवर्द्धन गरेको एकात्मक राष्ट्रियताको स्थानमा बहुल राष्ट्रियतालाई प्रवर्द्धन गर्ने सरकारको नीति र व्यवहारको आवश्यकता छ । रैथाने संगीतप्रतिको धारणामा आउने परिवर्तनले मात्रै यसको विकासमा प्रतिभाहरूलाई लाग्न उत्प्रेरित गर्ने हो । रैथाने संगीतलाई अगाडि बढाउन र विकास गर्न यसप्रति सम्मान तथा सांस्कृतिक महत्त्वको बुझाइ र संवेदनशीलताको खाँचो छ ।

Page 18
कोसेली

सारंगी विरह

सांगीतिक गतिविधिमा छिरिसकेको सारंगी अब गन्धर्वको मात्रै रहेन । त्यहाँ अरू नै जातिका मानिसको बाहुल्य छ । आफ्नो जातिको सीप, कला र अधिकार ठान्ने गन्धर्वहरू भने सारंगीबाट टाढिँदै गएका छन् ।
- दुर्गालाल केसी
स्व. अमृत गन्धर्व, भोजपुर, तस्बिरः लोचन रिजाल

त्यतिबेला गाउँघरमा रेडियो, टेलिभिजन, फोन, इन्टरनेट, हुलाक, यातायातका साधन केही थिएनन् । मनोरञ्जन र सञ्चारका कुनै पनि साधन नभएको बेला भरपर्दो आधार गन्धर्वहरू नै थिए । एक ठाउँको खबर अर्को ठाउँ पुर्‍याउन गन्धर्वलाई नै कुर्नपर्थ्यो । गाउँदागाउँदै देशका विभिन्न भागमा पुग्ने भएकाले मानिसहरू आफन्तलाई खबर पठाउँदा गन्धर्वकै सहारा लिन्थे ।
छोराछोरीको विवाह गराउँदा दुवैतिर कुरा पुर्‍याइदिएर लमीको काम पनि गन्धर्वले नै गर्थे । यस्तो महत्त्वपूर्ण काम गर्ने गन्धर्वहरूको सारंगीले अहिले महत्त्व पाउन छाडेको छ । सांगीतिक गतिविधिमा नभई नहुने सारंगी अब गन्धर्वको मात्रै रहेन । त्यहाँ अरू नै जातिका मानिसहरूको बाहुल्य छ ।
आफ्नो जातिको सीप, कला र अधिकार ठान्ने गन्धर्वहरू भने सारंगीबाट टाढिँदै गएका छन् । सारंगी धुनमा गीत गाउँदै हिँड्ने गन्धर्व अब पुरानो पेसाबाट थकित भएका छन् ।
यस क्षेत्रका गन्धर्वको पुर्ख्यौली थलो सल्यान हो । पहिले उनीहरू सल्यानबाट दाङ आएर गीत गाउँथे र मानापाथी उठाउँथे । औलोको डर भएकाले लामो समय दाङ बसिरहन सक्दैनथे । जब औलोको प्रभाव कम भयो, २०२४ सालपछि गन्धर्वहरूको बसोबास हुन थाल्यो । ‘ठाउँठाउँमा खानेकुरा उठाउँदै हिँड्थ्यौं । बेलुकापख कतै बास बस्थ्यौं । थारूसँग माटाका हाँडी मागेर पकाएर खान्थ्यौं,’ घोराही उपमहानगरपालिका ११ नयाँ बस्तीका ५९ वर्षीय काला गन्धर्वले भने, ‘हामीसँग भाँडाकुँडा पनि हुँदैनथे । कतै बिष्टकै बारीको छेउमा बसिन्थ्यो ।
कतै रूख र बाँसको झ्याङमुनि बसिन्थ्यो ।’ अहिले पनि उनी ५८ वर्षीया श्रीमती मुसीलाई साथमै लिएर गाउँ पस्छन् । पहिलेजस्तो सबैको घरमा जाँदैनन्, चिने–चिनेको घरमा मात्रै पुग्छन् । जति कठिनाइ भए पनि उनीहरूले सारंगी मोह छोडेका छैनन् । अधिकांश युवा पुस्ता सारंगीबाट टाढिँदै गैरहेको बेला उनका छोराहरू हेमराज, मिलन र विराजले भने सारंगी छोडेका छैनन् । उनीहरू काठमाडौंमा सारंगी बजाएर जीविका चलाइरहेका छन् ।
नयाँ बस्तीकै ४७ वर्षीय राजु गन्धर्वले बुबा तिलकको पछि लागेर सारंगी बजाउन सिके । ‘सानोमा बाले हात समाएर हिँडाउँथे । ठूलो हुँदै गएपछि बिष्टले दिएको खानेकुरा बोकेर हिँड्थें,’ उनले भने, ‘त्यतिबेला बिष्टहरूले धेरै मान गर्थे । गन्धर्व घरमा आए हुन्थ्यो भन्थे तर अहिले त्यस्तो खोजी हुँदैन ।’ त्यतिबेला खबर अर्को ठाउँमा पठाउने मुख्य साधन नै गन्धर्व थिए । कसैको छोरी विवाह भएर टाढा गएका हुन्थे । भेटघाट, सम्पर्क हुने अवस्था थिएन । उनले भने, ‘मेरो छोरीको यस्तो ठाउँमा विवाह भएको छ । अवस्था के कस्तो छ, खबर ल्याइदिनु भन्थे । हामी त्यहाँ पुगेपछि यताको खबर सुनाइदिन्थ्यौं, उताको खबर यता ल्याइदिन्थ्यौं ।’
तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौरका ५७ वर्षीय टेकबहादुर गन्धर्व सारंगी बजाउँदै रोल्पाको थबाङ, दैलेख, सुर्खेत, काठमाडौंका साथै भारतका विभिन्न सहरमा पुगेका छन् । उनले जीवनमा तीन खालको समाज देखेका छन् । ‘सुरुमा साह्रै सम्मान थियो, बीचमा छुवाछूत बढी भयो र अहिले फेरि आदर सम्मान गर्न थालेका छन्,’ उनले भने । अहिले हरेकजसो सांगीतिक समूहमा सारंगी छ । दोहोरी साँझमा सारंगी बज्छ तर गन्धर्वभन्दा अन्य समुदायले नै बजाइरहेको छ । ‘अहिले गन्धर्वलाई नखोजेको किन हेला ?’ उनी भन्छन्, ‘अरूले सारंगी बजाए पनि यसको खास मर्म गन्धर्वलाई मात्र थाहा हुन्छ ।’
नयाँ पुस्ताले जीविकोपार्जनका लागि अन्य पेसामा विकल्पहरू खोज्न थालेकाले सारंगीमाथिको निर्भरता घट्दै गएको गन्धर्व र सारंगीको संगीतका विषयमा विद्यावारिधि गरेका डा. लोचन रिजाल बताउँछन् । ‘हामीले उनीहरूका सीप र कलालाई सदुपयोग गर्न सकेनौं । आधुनिक प्रविधिले सारंगीलाई छायामा पारेको छ,’ उनले भने, ‘पहिले अन्य कुनै पनि प्रविधि थिएन । सूचना र मनोरञ्जनको माध्यम गन्धर्व मात्रै थिए । अब त्यो अवस्था रहेन ।’

मागीखाने भाँडो
सारंगी मागीखाने भाँडोका रूपमा बदनाम भएको रक्षाचौरका ५२ वर्षीय रामबहादुर गन्धर्वको अनुभव छ । ‘कसैले वचन लगाउँछन् । मागीखान किन हिँडेको भन्छन् । सारंगी बोकेर हिँड्यो भने माग्ने भनेर बुझ्छन्,’ उनले भने, ‘यसले नयाँ पुस्तालाई चोट पुगेको छ । अपमान दिने सारंगी किन बोक्ने भन्ने भएको छ ।’ सशस्त्र द्वन्द्वको समयमा पनि गन्धर्वहरूले ठूलो पीडा भोगेको उनले बताए । मागेर हिँड्नुपर्ने, विद्रोही माओवादी र सरकारी सुरक्षाकर्मीले भेष बदलेर सीआईडीको रूपमा हिँडेको भनेर दुःख दिन्थे । ‘तर हामीले आफ्नो काम इमानदारीसाथ गर्‍यौं । कसैको प्रभावमा परेनौं । युद्धमा सबै जाति लागे तर गन्धर्व कतै पनि लागेको देखिएन,’ उनले भने, ‘यो जातिले सारंगीबाहेक अरू केही हतियार बोकेन तर यो हतियारले हाम्रो जातिको इज्जत बचाउन सकेन ।’

सारंगी कसले बचाउने ?
सारंगी बनाउने र बजाउने दुवै खालका मानिसहरूको अभाव हुन थालेको छ । एक गाउँमा एक/दुई जना मानिस मात्रै सारंगी बनाउन जान्छन् । बनाउनेहरूले पनि उचित मूल्य पाउँदैनन् । ‘अब सारंगी बनाउने मान्छे नै पाइँदैन । बजाउनेहरू पनि घट्दै गएका छन्,’ नयाँ बस्तीका ४९ वर्षीय डाइबर गन्धर्वले भने, ‘एउटा सारंगी बनाउन तीन दिन लाग्छ । त्यसमा प्रयोग भएको सामान र मिहिनेतको
मूल्य उठ्दैन ।’
नयाँ बस्तीकै ५६ वर्षीय पदम गन्धर्व पनि सारंगी बनाउँछन् । भनेजस्तो बिक्री नभएपछि उनी पनि काममा त्यति हौसिन सकेका छैनन् । सारंगी उत्पादन बढाउने उद्देश्यले नयाँ बस्तीका ५० वर्षीय गणेश गन्धर्वले एउटा समूह नै बनाएका छन् । २४ जना सदस्य रहेको गन्धर्व सारंगी उत्पादन समूहले सारंगी बनाउन र बजाउन सिकाउने लक्ष्य लिएको छ । आफ्ना सन्तानलाई पनि सारंगी बजाउन सिकाइरहेको उनले बताए । ‘अब हामी सचेत नहुने हो भने सारंगी र गन्धर्वको इतिहास नै मेटिने अबस्था आइसक्यो,’ उनले भने, ‘बूढापाकाको मृत्युसँगै सारंगी पनि मर्दै गएको छ । अब पनि बचाउन नसके हाम्रो अस्तित्व संकटमा छ ।’
खमारीको काठबाट सारंगी बनाउने गरिएको छ । सारंगी बजाउन बाँसको धनुकी बनाइन्छ । त्यसमा घोडाको पुच्छर जोडेर रेट्न मिल्ने बनाइन्छ । सल्लाको फल खोटो घोडाको पुच्छरमा घोटेर राम्रो धुन आउने बनाइन्छ । सारंगीको फेदतिर बाख्राको छाला लगाइन्छ । सारंगीमा ब्याडमिन्टनमा प्रयोग हुने डोरी लगाएर रेटिन्छ । एउटा सारंगीमा सामान र मिहिनेत जोडेर ४ हजार ५ सय रुपैयाँसम्मको लगानी पर्ने गरेको गणेशले बताए । ‘तर बजारमा मिहिनेत उठ्ने मूल्यमा बिक्री हुँदैन । बजाउन नजान्नेलाई सारंगी कस्तो भन्ने नै थाहा हुँदैन,’ उनले भने, ‘यसको मूल्य उठ्ने हो भने गन्धर्वहरू सारंगी बनाउन लाग्थे । त्यसपछि बजाउन पनि ध्यान दिन्थे ।’

कोसेली

हाम्रो न्याउल्या

जनकविकेशरी धर्मराज थापाले “देउडा” भनेर रेडियो नेपालबाट प्रसारण गरेपछि यो शब्दले झांगिने अवसर पायो ।
- यज्ञराज उपाध्याय

जुम्लाको सिंजा क्षेत्रबाट नेपाली भाषाको उत्पतिसँगै न्याउल्या गीतले पनि आफ्नो
स्वरूपलाई फिँजाउन थालेको हो । सेती, महाकाली र कर्णाली क्षेत्रका विविध विशेषता बोकेका सबै गीतलाई मात्र देउडा भनेर बुझ्ने गरिएको छ । अहिले त देउडा भाषाको गीत भनेर केन्द्रीय सञ्चारमाध्यमबाट प्रसारण/प्रकाशन हुन थालेका छन् । तर, देउडा, डेउडा र न्याउल्या फरक हुन् ।
न्याउल्या काली–कर्णाली जनजीवनको सर्वप्रिय पेवा गीत तथा खेल हो । न्याउल्या गाउँदा न्याउल्या गीतको रूपमा र पैतोल (स्टेप) मिलाएर गोलाकार रूपमा खेल्दा न्याउल्या खेलको रूपमा चिनिन्छ । न्याउल्या खेल नखेल्ने हो भने चाडपर्व, मेलामहोत्सव अधुरा र अपुरा मानिन्छन् । कर्णाली प्रदेशदेखि सुदूरपश्चिम हुँदै छिमेकी राष्ट्र भारतको उत्तराखण्ड कुमाउ र गढवालसम्म न्याउल्याले आफ्नो दरिलो प्रभाव जमाइरहेको छ ।
न्याउली चरीको स्वरलाई विरहको प्रतीकका रूपमा लिने गरिन्छ । ‘न्याउली चरीका दीर्घ मधुर ध्वनिले खोला, नाला, वन पर्वत प्रतिध्वनित हुन्छन् । सुमधुर विरहयुक्त र प्राकृतिक न्याउली शैलीको अनुकरण मानव जातीले गरेका हुनाले यस ललित लोकसंगीतको नाम न्याउल्या गीत रहन गएको’ इतिहासकार तथा अन्वेषक योगी नरहरिनाथले ‘इतिहास प्रकाश’ मा उल्लेख गर्नुभएको छ । नाटककार पहलमानसिंह स्वाँरले सय वर्षअघि पद्यमा लेख्नुभएको ‘अछामका चाडपर्व’ पुस्तकमा ‘डेउडीपारि खेलिने खेललाई न्याउल्या’ भनेर परिभाषित गर्नुभएको छ । संस्कृतिविद् रामबहादुर रावलले ‘अभिनन्दन स्मारिका २०५९’ मा ‘खसानको पेवा न्याउल्या’ भनेर न्याउली चरीकै स्वरबाट न्याउल्याको उत्पत्ति भएको कुरा अघि सार्नुभएको छ ।
न्याउल्या काली–कर्णाली क्षेत्रमा विशेष महत्त्वका साथ दोहोरीका रूपमा खेलिने चालप्रधान खेल हो । डेउडा शब्द बढी प्रचलनमा ल्याउने भूमिका जनकविकेशरी धर्मराज थापाको रहेको छ । २०१५ सालमा काली–कर्णाली क्षेत्रको भ्रमण गरेर काठमाडौं आइसकेपछि उहाँले नै डेढीको प्रमुखतालाई मध्यनजर गरी डेउडा भनेर रेडियो नेपालबाट प्रसारण गरेपछि यो शब्दले झांगिने अवसर पाएको हो । त्यसपछि डेउडा र देउडाको अर्थप्रति ध्यानै नदिई न्याउल्या गीतलाई मनोमानी ढंगले कसैले देउदा र कसैले डेउडा भन्न थाले । न्याउल्या ओझेलमा पर्दै गयो ।
‘देउडा’ डेउडा र न्याउल्या भन्दा फरक विधा हो । देउडा ‘देवता’ शब्दबाट आएको र ‘देवता’ देवडा हुँदै देउडा हुन गएको भन्ने भनाइ छ । अर्को व्युत्पत्तिअनुसार ‘देववत् उड्डीय नृत्यते’ अर्थात् देवताहरूझैं उड्दै (उफ्रिँदै) स्वर, ताल र लय मिलेका गीतका आधारमा नाचिने हुनाले देवडीबाट कालान्तरमा भाषिक सरलताका दृष्टिले ‘देउडी’ र देउडा हुन गएको बुझिन्छ । देउतालाई डाक्ने वा रक्षा गर्न बोलाउने अर्थमा देउडा शब्द बनेको अर्थात् देउता डाक्ने नाचलाई ‘देउडा’ भन्नु युक्तिसंगत हुने प्रा.डा. ऋषिराम पोखरेलले ‘अछामका चाडपर्व’ (माथि स्वाँरको पनि यही पुस्तक छ) पुस्तकमा उल्लेख गर्नुभएको छ ।
मानव जीवनका अन्तरनिहित भोगाइ एवं प्रकृति वर्णनको विषयवस्तु बनाएर अन्तस्करणबाट स्वतःस्फूर्त रूपमा निस्किने लोकरचना न्याउल्या गीत हुन् । दुई पंक्ति रहने न्याउल्या गीतमा चौध–चौध अक्षर हुन्छन् । प्रायः पहिलो फंतिले खासै अर्थ बोकेको हुँदैन । अभिव्यक्त गर्न खोजेको गीतको अर्थ दोस्रो पंक्तिबाट झल्केको हुन्छ ।
दुई वारिकी दुई पारिका दुइजनी दर्नाकी
इच्छा थियो करमनाई रानी वन चर्नाकी
पीपलतोला नौ दोकान गैराला पाटन
दिहल्साई ओठको हाँसो सौरणी काटन
यसको प्रतिपाद्य विषय प्रेम र शृंगार हो । संयोग शृंगारभन्दा वियोग शृंगार बढी मार्मिक हुन्छ । न्याउल्या गीतमा आफ्नो प्रेमीलाई साई, सुवा, बाज, बाजकली, मुगामाल, मुरली चडो, जुनकिडीजस्ता शब्दहरूबाट सम्बोधन गरिने गरिन्छ । न्याउल्या खेल खेल्ने दुवै समूहमा एक–एक जना गीत भन्ने प्रमुख व्यक्ति हुन्छन् । पुरुषलाई ‘गीतउड्या’ र महिलालाई ‘गीताउडी’ भनिन्छ । यिनीहरूको स्थान चलचित्रका नायक नायिकाको झै हुन्छ । न्याउल्या खेलमा सोधिएको प्रश्नसहितको गीतको उत्तर तत्काल दिन असमर्थ भए उसले खेल छोडेर बाहिरिने प्रचलन छ । जसलाई ‘हरुवा’ को उपमा दिइन्छ । जित्ने केटालाई ‘जिताउड्या’ र केटीलाई ‘जिताउडी’ भनिन्छ । अहिले विज्ञान प्रविधिको विकासले ती कुराहरू विस्थापित भएका छन् र गीतमा इमेल, इन्टरनेट, फेसबुक, च्याट, मोबाइल आदिका कुराहरू बढी मात्रामा आउने
गरेका छन् ।
काम जति भाउजूका भाग बसी खान्या नन्द
इन्टरनेट चल्लैन छ कि अनलाइन सधैं बन्द
पहिलेपहिले त न्याउल्या खेल्न चाडपर्व र मांगलिक कार्य नै चाहिन्छ भन्ने थिएन । कामकाजबाट फर्केपछि बेलुकीपख गाउँको पटकानी (सांस्कृतिक पर्व मनाउने सार्वजनिक ठाउँ) मा जम्मा भएर न्याउल्या खेल खेल्ने प्रचलन थियो । त्यतिबेला काली–कर्णाली क्षेत्रका प्रख्यात गीताउड्या थिए अछाम तिमिल्सैनका देवानन्द तिमिल्सिना र गीताउडी थिइन् अछाम वैद्यनाथकी नामसरी । न्याउल्या खेल्न जुन गाउँमा जान्थे त्यो गाउँमा तीन–चार दिनसम्म न्याउल्या खेलिन्थ्यो रे । यिनका अलावा डोटीका चल्यासाईलगायत अन्य धेरैले गीताउड्या र गीताउडीका रूपमा काली–कर्णाली क्षेत्रमा नाम कमाएका थिए ।
महिला महिला र पुरुष–पुरुषहरूले मात्र खेलेको न्याउल्या खेलमा जातीय र वर्गीय भेदभाव रहेको हुँदैन । पारिवारिक बन्धनमा पनि बाँधिनु पर्दैन । पदीय हैसियत र मर्यादाको पनि वास्ता हुँदैन । जुनसुकै उमेर, पद र जातजातिका महिला–पुरुष हातेमालो गर्दै यो खेलमा सहभागी हुन सक्छन् । तर महिला–पुरुषको सामूहिक खेलमा केही विभेदकारी सीमारेखाहरू कोरिएका छन् । यसलाई मध्यकालबाट प्रादुर्भाव भएको सामन्तवादी संस्कृतिका रूपमा लिन सकिन्छ । बाहुन, क्षत्रीका पुरुषहरूले दलित समुदायका महिलासँग खेल्ने तर दलित समुदायका पुरुषहरूले बाहुन–क्षत्रीका महिलासँग खेल्न नपाउने सामन्ती संस्कार अहिले पनि रहेको छ । पारिवारिक नाता सम्बन्धले पनि महिला–पुरुषलाई न्याउल्या खेल्न सीमारेखामा बाँधिदिएको छ । 

Page 19
कोसेली

संकटको भुमरी

- आहुति

निसले जीवनमा दुई जिनिस उत्पादन गर्छ । एक, आफूजस्तै मानिस । दुई, जीवनलाई आवश्यक भौतिक र बौद्धिक सामग्री । बौद्धिक सामग्रीमध्ये एक हो— संगीत । संगीतले मानव मनको भाव व्यक्त गर्छ, त्यो भाव निश्चित भाषामा सबैभन्दा बढी व्यक्त हुन सम्भव हुन्छ । त्यसैले निश्चित सभ्यताको भाषा र त्यस सभ्यताको संगीतको सम्बन्ध मुटु र मस्तिष्कको जस्तै बनेको हुन्छ । नेपाल अहिले पनि सवा सय भाषा जीवित रहेको देश हो । ती भाषासँग सम्बन्धित जाति वा सभ्यतामा हजारौं वर्षबाट निर्मित रैथाने संगीतहरू थिए र छन् । काठमाडौंमा शासकसमेत बन्न भ्याएको पश्चिमको खसआर्यको देउडा काठमाडौं पुग्न विसं २००७ बाट गन्दा पनि पचास वर्ष लाग्यो, तिनका खाँडो जगाउने संगीतलगायत त राष्ट्रिय रंगमञ्चमा कहिले पुग्लान् पत्तो छैन । धरान सहर समृद्ध पार्ने नियतिबाट गुज्रेका किरातको पालम र हाक्पारेजस्ता एकाध संगीतहरू काठमाडौं पुग्न पनि त्यत्तिकै समय लाग्नु अस्वाभाविक मान्नुपर्ने अवस्था रहेन । यस्तो ऐतिहासिक सन्दर्भमा जीवन–मरणको दुर्दशाबाट आफूलाई जोगाउँदै आएका मुसहरदेखि चेपाङसम्मका सयौं जातिको रैथाने संगीतको हालत के भयो होला, के भइरहेको होला र के हनुपर्ने होला ? यी प्रश्नहरू साँच्चि नै छाती पोल्ने स्तरका छन् । नियालेर छाम्यो भने रैथाने संगीत जुन नेपाली समाजको प्राणको एक भव्यतम् अंश हो, त्यो ऐतिहासिक संकटको भुमरीबाट गुज्रिँदै आएको देखिन्छ । तर, रैथाने संगीतको संकट फुट्टा एकल परिघटना होइन, बरु यो त नेपालभित्रको समग्र क्षेत्रको रैथाने सम्पदामाथिको संकटको अंश भएकाले समग्र रैथानीयतामाथिको संकटको ऐतिहासिकतालाई अगाडि राखेर विमर्श हुनु आवश्यक छ । साथै रैथानीयतासँग सम्बन्धित विभिन्न वैचारिक प्रश्नहरूलाई पनि निफन्दै लैजानु जरुरी छ ।
दुई वर्षअगाडिको कुरा हो, जतिबेला रैथाने संगीतबारे काम गर्न सानो टोली परामर्श र विमर्शमा जुटेको थियो । एउटा विमर्श भेटघाटमा अभियन्ता झुमा लिम्बूले सोधेकी थिइन्, ‘रैथाने केलाई र कहिलेदेखिकोलाई मान्ने ?’ जवाफमा मैले भनेको थिएँ, ‘राजनीतिमा त आप्रवासीका सन्तान राष्ट्रपति पदको उम्मेदवार बन्न पाउने अवधिलाई मानिन्छ ।’ तर, संस्कृतिमा रैथानीयता राजनीतिमा तोकिएजस्तो सपाट अवधिले न त उत्पादन नै गर्छ, न त निर्धारण नै । रैथानीयतालाई कतै मौलिकता, कतै स्थानीयता र केही समययता पहिचानका रूपमा विश्वव्यापी बुझ्ने गरिएको छ । जुन नामले बुझिए पनि रैथानीयता फरक–फरक मानव समूहले सयौंदेखि हजारौं वर्षको बीचमा निर्माण गर्ने सभ्यताको बौद्धिक सम्पदा हो । त्यो सम्पदा सोच्ने दार्शनिकी, संगीत, खाद्यशास्त्र, बालीविज्ञान, औषधिशास्त्र एवं संस्कारहरू, भौतिक विज्ञान र कलाका विविध आयाममा मौलिकतासहित निरन्तर जीवन्त हुँदै आएको हुन्छ । बौद्धिक सम्पदाका यी तमाम विषयमा रैथाने र अन्यबीच के चीजले लक्ष्मण रेखा कोर्छ त ? यसको उत्तरमा भन्न सकिन्छ, जुन विषय संस्कारका रूपमा जीवन्त हुन्छन् ती रैथाने हुन्, संस्कार बनिनसकेका विषय रैथाने होइनन् बरु त्यस समाजका निम्ति प्रयोगात्मक हुन् । चलनचल्तीमा संस्कारलाई जसरी बुझ्ने–बुझाउने गरिए पनि संस्कारका दुई मुख्य पक्ष हुन्छन् । एक, जन्मेदेखि मृत्युसम्मका घटनाक्रमलाई नियमित गर्न बनेका अनुष्ठानहरू । दुई, खास सभ्यता वा समाजका मानिसले सोच्ने तरिका । संस्कारका दुई पक्षमध्ये अनुष्ठानहरू प्रत्यक्ष र मुखर रूपमा प्रकट भए पनि समाजको सोच्ने तरिकामा रहेको संस्कार निर्णायक हुने गर्छ । सामान्यतया मानिसको सोच्ने तरिकालाई संस्कारका रूपमा बुझ्ने गरिन्न तर बुझ्न जरुरी छ कि मानिसको सोच्ने तरिकामा नै सबैभन्दा बढी संस्कार अभिव्यक्त हुने गर्छ ।
निश्चित मानव समाजको सभ्यता वा रैथानीयता कसरी निर्माण हुन्छ ? वास्तवमा त्यसका निम्ति मूलतः पाँचवटा कारणले भूमिका खेलेका हुन्छन् । एक, खास प्रकृतिको भूगोल । दुई, सुरक्षाको व्यवस्थापन । तीन, आफ्नै समाजभित्रको अन्तरविरोध । चार, प्रगतिको आवश्यकता । र, पाँच ज्ञानको सीमा । खास भूगोलको वातावरणका कारण नै खास प्रकारका पहिरन बने । प्रगतिको आवश्यकताका कारण नै मौलिक प्रविधिहरू जन्मिए । ज्ञानको सीमाका कारण नै अलौकिक विश्वासहरू जन्मिए । समाजभित्रको अन्तरविरोधको जगमा नै शासकीय र शासित मौलिक अवधारणाहरू जन्मिए, प्रथा परम्पराहरू जन्मिए । जीवनको सुरक्षाको आवश्यकताले जन्मिए औषधि वा हतियारहरू इत्यादि ।
मूलतः यी पाँच कारणका सीमाबीचबाट रैथानीयता जन्मिए र नयाँ चरणका तिनै कारणका बीचमा अगाडि बढ्ने हुनाले एकातिर रैथानीयता निरन्तर परिमार्जित हुँदै जान्छ भने अर्कोतिर त्यसभित्र रुढीवाद पनि जन्मिँदै जान्छ । परम्परागत रैथानीयताको अकर्मण्यता वा त्यसभित्रको रुढीवादका विरुद्ध नवीन प्रगतिशीलता पनि अनिवार्य रूपमा जन्मिनैपर्ने हुन्छ ताकि त्यस समाज वा सभ्यतालाई नयाँ समयको अवस्था र ज्ञानको चरणमा गतिशील बनाउन सम्भव होस् । त्यसैले रैथानीयता एक निरन्तर परिमार्जनमा, यथास्थिति र परिवर्तनको द्वन्द्व संघर्षको बीचबाट गुज्रिरहेको हुन्छ । तर, यो झटपटको राजनीतिक परिवर्तनजस्तो गतिमा होइन बरु सिंगो समाजलाई लिएर सापेक्षतामा धीमा गतिमा परिवर्तनशील रहन्छ । रैथानीयता जड नभई चलायमान पर्यावरण हो किनभने प्रत्येक मानव सभ्यता अर्को मानव सभ्यतासँग ढिलो वा चाँडो तीव्र वा धीमा गतिको संसर्गमा रहँदै जान्छ । एउटा मानव सभ्यता र अर्को मानव सभ्यताबीच जति मैत्रीपूर्ण र स्वाभाविक अन्तरक्रियात्मक सम्बन्ध चल्छ, त्यति नै रैथानीयताले परिस्कृत हुने मौका पाउँछ, साथै मानव समाजलाई थप समृद्ध बनाउँदै लैजान्छ । मैत्रीपूर्ण सम्बन्धले नै हो हिजोदेखि हिमाली सभ्यताको जिम्बुले भित्री मधेससम्म सेवा गर्न पुगेको । आज काठमाडाौका गल्ली–गल्लीमा पानीपुरी पहाड र मधेसबीच सुमधुरता बढेकाले नै सम्भव भएको हो । तर, जब फरक–फरक मानव समाज वा सभ्यताबीच एकले अर्कोलाई नष्ट गर्ने अभियान चल्छ, त्यतिबेला भने एउटा रैथानीयता विजयी हुन्छ अर्को सभ्यताले हजारौं वर्ष लगाएर आर्जन गरेको रैथाने बौद्धिक सम्पदा नष्ट भएर जान्छ । वास्तवमा ती विजित भएर नस्टिएको रैथानीयता जोगिएको भए विजयी सभ्यताको समाजलाई पनि यथेष्ठ फाइदा पुग्ने थियो ।
मोटो रूपमा भन्दा वर्गीय समाज जन्मिएपछि आजसम्म मानव समाजमा जे–जति प्रगति भएको छ, त्योभन्दा कैयौं गुणा बढी रैथानीयता अर्थात् विभिन्न सभ्यताले आर्जन गरेका बौद्धिक सम्पदा नष्ट भएको देखिन्छ । संसारको पर्यावरण ७० प्रतिशत नष्ट हुनुले पनि वर्गीय समाजको प्रगतिको नकारात्मक गुदीलाई उदांगो पार्छ । एउटा कविलाले अर्को कविला समाजलाई ध्वस्त पार्ने युगबाट अगाडि बढेर एउटा सामन्ती राज्यलाई अर्काले नष्ट गर्ने हुँदै धार्मिक युद्धसम्ममा व्यापक मात्रामा रैथाने बौद्धिक सम्पदा नष्ट हुँदै गए । यस दृष्टिबाट गम्ने हो भने मानव जातिको इतिहास आफ्नै बौद्धिक सम्पदालाई नष्ट गर्दै तर नयाँ बौद्धिक सम्पदा खोज्दै भौँतारिएको इतिहास हो । संसारमा पुँजीवादी युगको सुरुआतसँगै रैथानीयतामाथिको सबैभन्दा घातक समयको सुरुआत भएको देखिन्छ ।
उपनिवेशवादका रूपमा पुँजीवादी साम्राज्यवाद जब विश्वव्यापी फरक मानव सभ्यतामाथि अतिक्रमणमा निस्क्यो, त्यसले अकल्पनीय स्तरमा रैथानीय बौद्धिक सम्पदालाई नष्ट गर्न सुरु गर्‍यो । त्यसले रैथाने भाषा, प्रविधि, संगीत औषधिशास्त्र, मानवीयताको फरक आयाम आदि सबैलाई नष्ट गर्दै गयो । युरोपले नेतृत्व गरेको पुँजीवादी साम्राज्यवादले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको सम्पत्ति लुट्नुभन्दा बढी त्यहाँको बौद्धिक सम्पदा अर्थात् रैथानीयता नष्ट गर्‍यो । आज ब्राजिलका नागरिक पुर्तगाली भाषा बोल्नुपर्ने र भारतीयहरू अंग्रेजी बोल्दा गर्व गर्ने स्थिति त्यसको सानो उदाहरण हो । भाषा खास सभ्यताको चिन्तनको औजार हो । भाषाबिना न चिन्तन सम्भव हुन्छ न त ज्ञानको पुस्तान्तरण । भाषामार्फत नै खास सभ्यताको बौद्धिक सम्पदा संगृहीत र परिमार्जित हुँदै आएको हुन्छ । त्यही औजार नष्ट वा बेकाम हुन पुग्नु सम्पदाको कति ठूलो संहार होला, आकलन गर्न कठिनाइ पर्दैन । यही कालमा आज देशका रूपमा रहेका समाजभित्र पनि आन्तरिक औपनिवेशीकरणको प्रक्रिया चले । नेपालमा राजा पृथ्वीनारायण शाहबाट सुरु भएको गोरखा राज्य बिस्तार अभियान आजबाट हेर्दा आन्तरिक औपनिवेशीकरण नै थियो । त्यो सिलसिला जंगबहादुर राणा हुँदै राजा महेन्द्रकृत पञ्चायत व्यवस्थासम्म पुग्दा एक भाषा, एक संस्कृति, एक धर्म, एक जात, एक भेषजस्ता नीतिका कारण नेपालभित्र विभिन्न सभ्यताका रैथानीयता तीव्र रूपमा नष्ट हुने प्रक्रिया चल्यो र आजसम्म त्यो जारी नै छ ।
नेपालको सन्दर्भमा रैथानीयतामाथि दुईतिरबाट प्रहार हुँदै आयो । एक, पहाडिया हिन्दु उच्च जातीय सोच, संरचना र संस्कृतिबाट । दुई, बेलायती साम्राज्यवाद हुँदै भारतीय प्रभुत्ववादी सोच र नीतिबाट । राणा शासकहरूले बेलायती साम्राज्यवादको नांगो गुलामी सुरु गरेपछि नेपालका समग्र क्षेत्रका मौलिकता वा रैथानीयतामाथि हस्तक्षेपको प्रक्रिया तीव्र भयो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको कालदेखि त क्रमशः फलाम खानी, तामा खानी, कपास खेती, गाँजा खेती बन्द गरिँदै लगिए, त्यो अंग्रेजको फलाम, तामा, सुती र चुरोट बेच्ने रणनीतिको सेवा थियो । त्यसबाट प्रविधिको क्षेत्रका रैथानीयता नष्ट हुन सुरु भए, गाँजालगायत जडीबुटीसँग सम्बन्धित औषधिजन्य रैथाने ज्ञान कुण्ठित हुन पुगे । यही क्रमको निरन्तरताले तमाम नेपालभित्रका औषधिशास्त्रजन्य रैथाने ज्ञान मृतप्रायः बन्दै जाने सिलसिला चल्यो । घर निर्माणको रैथानीय ज्ञानलाई उपेक्षा गरेर बेलायती सौन्दर्यमा आधारित दरबार बनाउने लहर चलाए । नेपालभित्रका विभिन्न सभ्यताहरूमा रहेका चित्रकला, मूर्तिकलाका रैथाने ज्ञानलाई तिरस्कार गरेर पश्चिमा ललितकला विधिलाई मात्र ललितकला मान्न थालियो । राजा महाराजाका सालिक पनि बेलायतबाट बनाएर ल्याउन थालियो । रैथाने बाजाहरूको सट्टा सेनामा विदेशी पित्तल बाजा र ब्यागपाइपरलाई न्याउली बाजा भनी स्थापित गर्ने परम्परा सुरु गरियो इत्यादि । बेलायत भारतबाट फर्कियो, त्यसपछिको भारतीय प्रभुत्ववादी नीतिले बेलायतकै भाँती नेपालको रैथानीयतामाथि तीव्र हस्तक्षेप जारी राखेकै छ । यसबीचमा नेपालभित्रका शासकहरूको दोहोरो रवैया रहँदै आयो । वैदेशिक सांस्कृतिक हस्तक्षेपप्रति आँखा चिम्लेर बस्ने तर आफ्नो देशभित्रका उत्पीडितहरूको समग्र रैथानीयतामाथि लगातार दमन गर्ने । यस प्रवृत्तिको तिखो नमुना भाषाका सन्दर्भमा स्पष्ट देख्न सकिन्छ । नेपालका शासकहरूले यसो भनेर लाद्दै आए कि अंग्रेजी भाषा शिक्षितले जान्नुपर्छ । यसको मतलब हो— खस नेपाली भाषाभन्दा अंग्रेजी भाषाको महत्त्व बढी छ । त्यसैगरी उनीहरूले व्यवहार गर्दै आए कि खस नेपाली भाषाबाहेकका अन्य रैथाने भाषाहरू मरे हुन्छ । यसको निष्कर्ष हुन्छ— नेपालमा खस नेपाली भाषाको मात्र महत्त्व छ । दीर्घकालमा निस्कने परिणाम त यही हुनेछ कि खस नेपाली भाषाले अरू रैथाने भाषालाई मार्नेछ र अंग्रेजीले चाहिँ खस नेपाली भाषालाई । यसप्रकार नेपालका शासकहरूका सोच्ने तरिकामा रहेको बिब्ल्याँटो प्रवृत्तिका कारण नेपाली समाजको आधुनिक युग नेपालभित्रका हजारौं वर्षबाट बन्न पुगेका अमूल्य रैथाने बौद्धिक सत्त्वहरूको मृत्युको पनि युग बन्न पुगेको छ ।
नेपालका विभिन्न जाति र सभ्यतामा रहेको विज्ञान–प्रविधि, दार्शनिकी, खाद्यशास्त्र, वास्तुशास्त्र, सौन्दर्यदृष्टि, औषधिविज्ञान, ललितकला, बालीविज्ञान इत्यादिका क्षेत्रमा रहेको रैथाने बौद्धिक सम्पदा कसरी नष्ट हुने प्रक्रिया चल्दै आए भन्ने बृहत्तर विमर्श यहाँ सम्भव छैन । तर, त्यस्तो विमर्श जरुरी भने अवश्य छ ।
तीमध्ये रैथाने संगीतबारे राज्यले गरेका हर्कतहरूको अध्ययनबाट समग्रतातिर चियाउन भने गतिलो सुराक मिल्न सक्छ । विसं २००७ पछिलाई नेपालको आधुनिक युग मान्दा त्यही वर्ष स्थापना भएको थियो रेडियो नेपाल । रेडियो नेपालको स्थापनाभन्दा पहिले संगीत जनसमुदायको आफ्नो निम्ति आफ्नै मौलिक कर्म थियो । सबै जातिका आफ्ना भाषाका गीत–संगीत थिए । शाह र राणाहरूका दरबारमा उनीहरूलाई मन पर्ने संगीत, नृत्य, नाटक र पछिल्लो समयमा हिन्दी सिनेमा पनि चल्ने गर्थ्यो । तर, ती कार्य नेपालका अन्य सामुदायिक रैथाने संगीतमाथि हस्तक्षेप गर्ने योजना र स्तरका थिएनन् । रेडियो नेपालको स्थापनापछि भने आधिकारिक रूपमा शासक संगीतको जन्म भयो । खास संगीतले खास सभ्यताको अनुभूति बोल्ने हो र त्यो अनुभूति खास भाषामा बोल्ने हो । रेडियो नेपालबाट प्रसारण हुने गीत–संगीतले पहाडिया हिन्दु उच्च जातीय सभ्यताको अनुभूति बोल्न थाल्यो र स्वभावतः खस नेपाली भाषामार्फत बोल्न थाल्यो । काठमाडौंका रैथाने र पूर्वीय शास्त्रीय संगीतको व्याकरणलाई संस्कारका रूपमा अभ्यासरत नेवार जातिबाट थुप्रै गायक एवं संगीतकार जन्मिए तर अधिकांशले नेवार सभ्यताको रैथाने संगीतलाई रेडियो नेपालबाट अगाडि ल्याउन सकेनन्, पाएनन् । अरू जाति सभ्यताको त के कुरा गर्नु ! रेडियो नेपालको आयु बढ्दै जाँदा त्यसले संगीतको क्षेत्रमा सात प्रकारका गीति कार्यक्रमलाई अघि बढायो । एक, आधुनिक गीत । दुई ,लोक गीत । तीन, शास्त्रीय संगीत । चार, हिन्दी गीत । पाँच, हिन्दु भजन । छ, पश्चात्य गीतका नाममा अंग्रेजी गीत । र, सात, देशभक्तिका गीत । यीमध्ये लोक गीत, अंग्रेजी गीत र हिन्दी गीतको कार्यक्रमबारे घोत्लिनु महत्त्वपूर्ण हुन्छ । लोक गीत भनेर पहाडिया हिन्दु समुदायको संगीतलाई मात्र प्रचार गरियो अनि विभिन्न जाति–सभ्यताको लोक–संगीत भरेर खस नेपाली भाषामा पहाडिया हिन्दु समुदायको दृष्टिकोण गाइयो । संगीतको व्याकरण र खास गीतको संगीत फरक कुरा हुन् । निश्चित सभ्यताको निश्चित संगीत खास अनुभूति व्यक्त गर्न जन्मिएको हुन्छ । त्यस लयलाई भाषा फरक पारेर जस्तो अनुभूति पनि गाउन मिल्ने कुरा नै होइन । यस विषयमा आज त गम्भीर छलफल छैन भने त्यतिबेलाको क्रूर शासक मानसिकताको रेडियो नेपाललाई के मतलब होस् ! नेपालका विभिन्न जाति र सभ्यताका रैथाने संगीतलाई तिनकै भाषामा रेडियो नेपालमार्फत प्रस्तुत हुन प्रतिबन्धकै अवस्था रहृयो । त्यसको सट्टा हिन्दी गीत र अंग्रेजी गीतले भने अतिरिक्त प्राथमिकता पाउँदै आए ।
यस दृष्टान्तबाट पनि नेपाली शासकहरूको प्रवृत्ति छर्लंग हुन्छ अर्थात् खस नेपाली संगीतमार्फत देशभित्र अरूलाई दमन गर्ने र विदेशी संगीतको चाहिँ चाकरी गर्ने । यही सिलसिलामा नै प्रज्ञा प्रतिष्ठान, रत्न रेकर्डिङ संस्थान, चलचित्र संस्थान र नेपाल टेलिभिजनहरू स्थापना भए र तिनले पनि प्रवृत्तिगत रूपमा त्यही कामलाई नयाँ उचाइमा अघि बढाए, जुन रेडियो नेपालबाट सुरु भएको थियो । यसरी दशकौं राज्यको आधिकारिक र एकलौटी आधुनिक श्रव्यदृश्य संस्थाबाट एक भाषा र एक संस्कृतिको संगीतलाई अरूमाथि लाद्ने काम भयो, साथै अरू सभ्यता र भाषाका रैथाने संगीतलाई खस नेपाली भाषामा जबरजस्ती प्रयोग गरेर तिनको विद्रूपीकरण गर्ने काम भयो । राज्यको यसप्रकारको कारबाहीका कारण नेपालका विभिन्न जाति र सभ्यताका रैथाने संगीत हराउँदै जाने सिलसिला चल्यो । ‘हाउगुजी आउँछ है सुत’ भनेर बच्चा सुताउनेहरूले हाँकेका संगीत प्रतिष्ठानहरूले मधेसको ‘लोरी’ लाई ढिम्किनै दिएनन् । कम खेतीपाती हुने भूगोलबाट आएका शासकहरूले बाह्रैमास खेती हुने मधेस र वागमती उपत्यकाको महिनैपिच्छेको फरक–फरक बाह्रमास संगीत बुझ्नै सकेनन्, स्विकार्नै चाहेनन् । अहिले पनि राज्यको नीति र प्रवृत्ति मूल रूपमा यसैको निरन्तरतामा देखिन्छ, जुन निकै नै पीडादायक छ ।
आज जति पनि उत्पीडनमा परेका जाति र क्षेत्रका रैथाने संगीत मरणासन्न अवस्थामा जीवित छन्, ती धेरैजसो तत्तत् समुदायका परम्परा र अनुष्ठानहरूमा गाउँदै आइएको कारणले बचेका छन् । तिनको रक्षा गर्नु र प्राज्ञिककरणसहित परिमार्जन गर्दै लैजानुपर्ने विशाल तर जरुरी अभिभारा नयाँ पुस्ताको अगाडि उपस्थित छ । पहिचान वा रैथानीयताको रक्षा खास जाति समुदायको उत्थानको विषयभन्दा बढी त्यसद्वारा समग्र मानव समाजको सेवाको निम्ति हो भन्ने वैचारिकीलाई आत्मसात् नगरेसम्म रैथानीयता संगीतमा मात्र होइन, सबै क्षेत्रमा संकटग्रस्त भइरहनेछ । नेपालको व्यवस्था र राज्य त रैथानीयतामाथि तेजाब खन्याउँदै छ । इतिहासलाई चिर्दै वर्तमानसँग लडेर भविष्य निर्माण गर्न चाहने नयाँ पुस्ताले के गर्ला, हेर्नै बाँकी छ ।

कोसेली

गुमाउँदै विरासत

- रमेश रञ्जन

ज्योतिरीश्वरले लेखेको मैथिली गीतसहितको नाटक ‘धूर्त्तसमागम’ को एक दृश्य ।

सरस्वती हृदयालंकार नामक संगीतग्रन्थ सिमरौनगढका महराज न्यानसिंह देवद्वारा एक हजार इ. मा लेखिनुले नै मैथिली संगीतको पाकोपनालाई दर्साउँछ । मिथिलाका प्रसिद्ध संगीत घरानामध्ये अहिले अमता घरान मात्रै अस्तित्वमा छ । रामचतुर मल्लिक, विदुर मल्लिक, अभय मल्लिक गायकीमा आदरपूर्वक लिइने नाम हो । माँगैन खवासका गायिकीलाई पछ्याउनेहरू पनि देखापरेका छैनन् । दरभंगा राजघरानामै आश्रित ती संगीत घरानासँगै कुनै बेला उस्ताद बिसमिल्लाह खानजस्ता महान् संगीतज्ञ हुर्किए, दरभंगा अहिले आफैं खण्डहरमा रूपान्तरित भइसकेको छ ।
मैथिली संगीतको अवस्था दक्षिण एसियाको अन्य भाषिक, सांस्कृतिक समुदायभन्दा पृथक् छैन । इथ्निक संगीतको स्रोत र आधार लोकसंगीतभित्र नै खोज्नुपर्ने हुन्छ । मान्छेको डीएनए परीक्षण गर्दा देखिने मिश्रणले जसरी जातीय श्रेष्ठताको दम्भलाई धराशायी पार्छ त्यसरी नै संगीतको डीएनए परीक्षण गर्दा आफ्नो रैथानेपनप्रति आशंका जन्माउँछ ।
मैथिलीमा गीत–संगीत सबभन्दा शक्तिशाली विधा हो । अनुष्ठान, श्रम, संस्कारका कुनै चरण गीतबिना पूर्णता पाउँदैन । धेरैजसो अवस्थामा वाद्यको प्रयोग हुँदैन । वाद्य नहुनाका कारण संगीत अपूर्ण हुँदैन । अहिले पनि मंसिर, पुसतिर मिथिलाको गाउँमा बिहानीतिर परातीको शब्दसहित धुन सुन्न पाइन्छ । बीस–बीस घण्टा काम गरी मालिकको भखारीमा धान भर्ने मजदुरको घर अझै पनि
रित्तै छ ।
कखन हरब दुःख मोर
हे भोलेनाथ...
दुखही जनम भेल
दखही गमाओल
सुख सपनहुँ नइ भेल
हे भोलेनाथ...
यो गीत समकालीन समाज संघर्ष, वेदना, पीडा र विवशतालाई मात्रै फ्रकट गर्दैन, सामन्ती त्रूरताविरुद्धको अभिव्यक्ति दिन्छ । मेसिनी युग र कृषि कार्यमा मेसिनको बढ्दो प्रयोगले यो गीतले सार्थकता गुमाउने हुन सक्छ ।
दसैंमा रसनचौकी, दाहामा तासा, महावीर झन्डामा झरी, दसैं र छठमा ढोल, विवाह, व्रतबन्ध र मुण्डनमा ढोल पिपही यस्ता अनेकौं उत्सव र अनुष्ठान जहाँ भिन्न–भिन्न वाद्यको प्रयोग हुन्छ । तर गीतसँग यी वाद्यहरूले संगत गर्न सकेन । यसमध्ये पिपही प्रकारान्तरले सहनाईको रूपमा विकसित भयो, ढोल तबलाको रूपमा विकसित भएको हुनुपर्छ तर अरू वाद्यहरू आफ्नो स्वरूप त्यसप्रकार परिष्करण गर्न सकेन, जसकारण गीतसँगको सांगीतिक यात्रा अगाडि बढ्न सकोस् ।
यी वाद्यमध्ये कतिपयको उल्लेख विश्वकोशीय ग्रन्थ वर्ण रत्नाकर (१२६०–१३४० मतान्तर १२८०–१३४०) मा भएको छ । वर्णरत्नाकरको कलारूप र वाद्य वर्णनमा सुरतरिया, डाक, डौकी, डेञडी, डमरु, धोन्धसी, मजिरा, कठताल, किदला, चङ्गु, चुटकल, बाँसी, पुहिल, सिङ्गा, वजा बदुतँ, डफिला, डलोरी, विरहा, बेली, विरह, देई मन्त्रणा, भीषणा, सिरप्रदोशई, ठमरण, चउपई, चेड्गा, चाञ्चली, लोरिक नाचो, नगनी, मएना, बडती (प्रथम कल्लोल १३ क) को नाम उल्लेख छ । यसमध्ये केही वाद्ययन्त्र अझै पनि प्रयोगमा छन्, केहीले समयानुसार नाम र रूप परिवर्तन गरिसके ।
छाल वाद्यमा ढोलक मिथिला संगीतको पुरानो साथी हो र त्यही वंशका नाल, तबला पनि त्यत्तिकै सघनताका साथ प्रयोग भइरहेको छ । मृदंगलाई शास्त्रीय वाद्य मानिए पनि मिथिलामा अप्रत्याशित रूपमा लोकवाद्यको रूपमा प्रयोग भइरहेको छ । भगैत अर्थात् महराईमा झ्याली, करताल, मृदङ्ग, टुभकीको प्रयोग गरिन्छ । यो बोलप्रधान नभई स्वरप्रधान गीतको श्रेणीमा आउँछ । शब्द यसमा अस्पष्ट हुन्छ । पछिल्लो क्रममा लोकनाट्यहरूमा हारमोनियम, ढोलक, नाल, नङारा संगै कलारनेटको प्रयोग बडो अचम्भित पार्छ । कलारनेट कसरी कहिले र के कारणले मैथिली लोकसंगीतको अङ्ग बन्यो अनुसन्धानै गनुपर्ने हुन्छ । यो दूध र पानीको मिश्रण होइन जसले एकअर्काको अस्तित्व स्वीकार गर्छ, यो त तेल र पानीको मिश्रण हो जसको घुलन हुँदैन । मिथिलाको मौलिक संगीतले यस्ता बिजातीय वाद्यलाई पनि आफ्नै रङ र मौलिकतामा ल्याई छाड्यो । आफ्नो स्वर र शब्दको शक्तिले पनि मैथिली संगीतलाई खासै अबघात यी वाद्यहरूको प्रयोगबाट भएन । खासमा समकालीन संगीतज्ञ र गायकले मैथिली संगीतको मौलिक पहिचान क्षतिग्रस्त गरिदिएका छन् । अहिले सिर्जित होइन उत्पादित गीत संगीतलाई बजारले उत्पादन गरिरहेको छ । जटजटिन, झिझिया, धोबिया, कजरी, चैताबर, बारहमासा, भगैतजस्ता पारम्परिक गीत–संगीतहरूलाई उत्पादित गर्दा माथि उल्लेख गरिएभन्दा पनि प्रोग्रामिङ गरिन्छ, त्यसमा अहिले उपलब्ध किबोर्ड, पैड, गिटार र अन्य उपलब्ध त्यसप्रकारका विभिन्न बाजाहरूको प्रयोग गरिन्छ ।
मैथिलीमा चार दशकपहिला एउटा गीतकारको उदय हुन्छ– काशीकान्त झा मधुप । उनी तत्कालीन लोकप्रिय हिन्दी गीतहरूको संरचनामा आधारित मैथिलीमा गीत लेख्छन् । मधुपको प्रशंसा गरिन्छ, प्रशस्ति गाइन्छ । उनीद्वारा रचित गीत हिन्दी मौलिक गीतभन्दा श्रेष्ठ रहेको प्रमाणित गरिन्छ । मैथिली संगीतमा पैरोडी संगीतको दीर्घकालीन रोगको भाइरस त्यहीबेला भित्रियो ।

Page 20
कोसेली

मुन्दुम : लयको महासागर

किरात राई समुदायभित्र मात्र मुन्दुम गायन गर्ने चार–पाँच सय धामी र रिसिमी होलान् । भन्नुको अर्थ अहिलेसम्म करिब पाँच सयथरी लय जीवितै छ । यो सानो बौद्धिक सम्पदा होइन, नेपाली समाज र संगीतका लागि ।
- भोगीराज चाम्लिङ

सांगीतिक क्षेत्रमा एउटा ठट्टा खुबै प्रचलित रहेछ, ‘किरात राई समुदायको कुनै गायक–गायिका भेटियो भने उसलाई कुन जिल्लाको भनेर नसोध्नू । बरु सीधै सोध्नू— खोटाङ कुन ठाउँको हो ?’
हुन पनि हो, ‘राई इज किङ’ अर्थात् राजेशपायल राईदेखि अहिलेकी ‘हिट’ गायिका मेलिना राईसम्म खोटाङकै हुन् । किन किराती समुदाय संगीतमा यसरी अगाडि आइरहेको छ ? संगीत क्षेत्रमा किन उनीहरूको उपस्थिति बाक्लो छ ? यसका थुप्रै कारण होलान् तर एउटा हो— किराती समुदाय मुन्दुम परम्परामा हुर्किएको हुनाले संगीतसँग उनीहरूको जन्मजात लगाब ।
किरात राई मात्र नभएर सिङ्गै किराती समाजमा संस्कार गर्दाका बखत नछुङ (धामी) र रिसिमीहरूले मुन्दुम गायन गर्छन् । हजारौं वर्षदेखि उनीहरूको जीवनको अभिन्न पक्ष भएर अहिलेसम्म निरन्तर छ मुन्दुम गायन । त्यसकारण मुन्दुमको लय सुन्दै हुर्किएका किरातीहरू गीत–संगीतमा आएनन् भनेचाहिँ आश्चर्यको कुरा हुन्छ । उनीहरू साहित्यमा, अभिनयमा, ललितकला इत्यादिमा आएनन् भनेचाहिँ आश्चर्य हुन्छ । उनीहरूले नयाँ सिद्धान्त निर्माणको कुरा गरेनन् भनेचाहिँ आश्चर्य हुन्छ ।
मेरो विचारमा किराती संगीतलाई दुई भागमा विभाजन गर्न सकिन्छ— मुन्दुमी र लोकगीत । मुन्दुम समग्र किरातीहरूमा प्रचलित आदिम संस्कारगीत हो । किराती लोकगीत–संगीतको बीउ मुन्दुम नै हो ।
यसका थुप्रैमध्ये चार मौलिक विशेषता निम्न बुँदामा समेट्न सकिन्छ :
एक, नछुङ (धामी) अथवा संस्कार गर्ने व्यक्ति मात्र मुन्दुमको गायक हुन्छ । आम सर्वसाधारणले मुन्दुम गाउनु हुँदैन, हानि गर्छ भन्ने मान्यता छ । तर, धामीहरू किराती समाजका मुन्दुमी गायक मात्र होइनन्, आदिम समाजले विकास गरेको बौद्धिक पनि हुन् । उनीहरू गायक पनि हुन्, व्याख्याता पनि हुन् ।
दुई, मुन्दुम गायनको लयमा विविधता छ । २०६८ सालदेखि मुन्दुम संकलन र अध्ययन गर्दाको मेरो अनुभवले भन्छ, मुन्दुम गायन गर्ने लयमा विविधता मात्रै होइन, ज्यादै धेरै विविधता छ । जति छन् धामीहरू, त्यतिथरी नै छ लय पनि । त्यसैले गीत–संगीतको आँखाबाट हेर्दा मुन्दुम भनेको लयको महासागर हो । मुन्दुमी लयको विविधता एक धामी र अर्को धामी अथवा एक रिसिमी र अर्को रिसिमीबीच मात्रै छैन, एउटा संस्कार र अर्को संस्कारबीच पनि छ । त्यही धामीले एउटा संस्कार गर्दा एउटा लयमा मुन्दुम गायन गर्छ, त्यही धामीले अर्को संस्कार गर्दा अर्को लयमा मुन्दुम गायन गर्छ । किरात राई समुदायभित्र मात्र चार–पाँच सय हाराहारीमा मुन्दुम गायन गर्ने धामी र रिसिमीहरू होलान् । भन्नुको अर्थ अहिलेसम्म पनि चार–पाँच सयथरी लय जीवितै छ । यो सानो बौद्धिक सम्पदा होइन नेपाली समाज र संगीतका लागि ।
अर्को महत्त्वपूर्ण कुरा, धामीहरूले चिन्ता बस्दा सबैभन्दा पहिला एउटा आवाज निकाल्छन्— सुइऽऽऽ । यो अर्थबिनाको ध्वनि मात्र हो । तर, मलाई लागेको चाहिँ के भने यो आदिम ध्वनि हो जुन सिकार खेल्दा अथवा सामूहिक संकेत गर्नुपर्दा प्रयोग हुन्थ्यो । अहिले पनि सिकारी र फिरन्ते जीवनमै रहेका राउटेहरूले सिकार गर्नुपर्दा यस्ता सांकेतिक ध्वनि निकाल्ने गरेको पाइन्छ जो । यसरी हेर्दा मुन्दुम भनेको सिकारी युगका ध्वनिदेखि कृषियुगसम्मका शब्द–संगीतको मौखिक संग्रह हो ।
मान्छेहरूले यसरी गाउन सक्ने भएको कहिलेदेखि होला ? वैज्ञानिकहरूका अनुसार हाम्रो नाक चुच्चो भएर माथि उठेको १५ लाख वर्ष भयो । भन्नुको अर्थ गाउनका लागि चाहिने श्वासप्रश्वास प्रणालीको विकास १५ लाख वर्षपहिले भयो । त्यो बेला हाम्रा पुर्खाहरूले गीत गाए कि गाएनन्, त्यो आफ्नो ठाउँमा छ तर गायनका लागि अनुकूल शारीरिक विकास भने १५ लाख वर्ष पुरानो हो । आवाज र बोलीको विकास गर्नु मानवजातिका लागि धेरै ठूलो उपलब्धि थियो (द ओरिजिन अफ म्युजिक, सम्पादक निल्स डब्ल्यू वालिन, बिजोर्न मर्कर एन्ड स्टेभन ब्राउन) जसको उपज हो अहिलेको मानवजातिको सवर्तोमुखी उच्चत्तम विकास ।
मानवशास्त्रीहरू के अनुमान गर्छन् भने मान्छेले लगभग ४ लाख वर्षपहिले अथवा अझ अगाडि नै प्रारम्भिक स्वरूपको संगीतको विकास गरे । चार–पाँच लाख वर्षपहिले नै मानव पुर्खाहरूको मस्तिष्कको आकार बढिसकेको थियो र त्योसँगै संवेगात्मक क्षमता पनि विकास भएको थियो । सम्भवतः त्यसबखत मान्छेले शारीरिक हाउभाउ मात्र होइन, आफ्नो भावना अभिव्यक्त गर्न आवाजको पनि प्रयोग गर्न थालेको थियो (एन्टोन किल्लिन, ‘द ओरिजिन अफ म्युजिक’, सन् २०१८) । संगीतको विकास लाखौं वर्ष र हजारौं पुस्ताको सिर्जनात्मक देन हो । सामूहिक श्रमको उपज हो । किनभने, आदिम समयमा संगीत मनोरञ्जनभन्दा आवश्यकता थियो । कामलाई अझ बढी उत्पादनशील बनाउन पुर्खाहरूले धुनको विकास गरेका थिए (मार्क्सवाद र संगीत, अनुवाद निनु चापागाई, २०६७) । त्यो पछि गएर समाज र संस्कार–संस्कृतिको अभिन्न अंग बन्न पुग्यो जसको प्रत्यक्ष साक्ष्य हो मुन्दुम ।
तीन, मुन्दुमी संगीत संस्कारसँग अभिन्न रूपमा सम्बद्ध रहेको छ । जन्मदेखि मृत्युसम्म हरेक संस्कार र संस्कृतिमा नछुङ (धामी) हरूले मुन्दुम गाउने गर्छन् । संस्कारसँग नजोडिएको भए सायद मुन्दुमी संगीत बाँकी रहने थिएन । फेरि मुन्दुम नजोडिएको भए संस्कार पनि जीवन्त हुने थिएन ।
चार, मुन्दुम गायन गर्दा एकै खालको मात्र धुन निस्कने बाजा प्रयोग हुन्छ । मुन्दुम गाउँदा प्रयोग हुने बाजा भनेको मूलतः ढोल, थाल, झ्याम्टा र घण्टी हो । जसरी सारंगीको तार रेट्दा थरीथरी धुन पैदा हुन्छ, मुन्दुम गायन गर्दा बजाइने यी बाजाबाट त्यस्तो विविध धुन पैदा हुँदैन । यी बाजाका लयका आधारमा धामी या आम किरातीहरूले नृत्य गर्ने गर्छन् जसलाई सिली टिप्नु, सिली गर्नु भनिन्छ । त्यस्तै गरेर पात बजाउने प्रचलन पनि किरात राई जातिमा ज्यादै धेरै छ । रूखका चिल्लो पात ओठमा च्यापेर निकालिने धुनले किरात राई बस्तीका रनवन घन्किरहेको हुन्छ । सम्भवतः सिकारी जीवनमा छँदाको बखत प्रयोग सुरु भएको आदिम बाजा हुनुपर्छ पात ।
पुरातत्त्वविद्हरू अनुमान गर्छन् कि हातको ताली नै पहिलो बाजा हो । त्यस्तै लाठी जुधाएर आउने आवाज, ढुंगा बजाएर आउने आवाज नै प्रारम्भिक बाजा र संगीतका ध्वनि हुन् । त्यसपछि मानवले प्रयोग गरेको संगीतको साधन भनेको पशुपन्छीहरूको हाड हो । सायद त्यसैको झल्को आजकलका धामीहरूले चलाउने सामग्रीमा देख्न सकिन्छ । उनीहरूले पशुपन्छीका हाड आफ्नो सांस्कृतिक सामग्रीका रूपमा प्रयोग गर्ने गर्छन् । चिन्ताहरू गर्दा उनीहरूले यस्तो हाड थानमा राख्ने गर्छन् र कतिपय संस्कारमा बजाउने पनि गर्छन् । त्यस्तै अर्नाको सिङ पनि किरात राई धामीहरूले प्रयोग गर्ने अर्को बाजा हो जसले प्राग्ऐतिहासिक समयको झल्को गराउँछ ।
उत्तर अमेरिकाका सिकारी जीवन बिताइरहेका एउटा जातिको अध्ययनले के देखाएको छ भने उनीहरूका बाजाबाट एक प्रकारको मात्र आवाज आउने गर्छ जसमा ठोक्दा बज्ने ढोल, घर्षण गर्दा बज्ने बाजा अनि गोरुको सिङजस्तो बाजाहरू पाइएका छन् । उनीहरूको ढोल छालाले मोहरेर बनाइएको हुन्छ । काठका लठ्ठीहरू जुधाएर आवाज निकालिन्छ । किरातीहरूले अहिले प्रयोग गर्ने बाजाहरू पनि यस्तै छन् । उनीहरू संस्कार गर्दा, सामाजिक नृत्यहरू गर्दा, युद्धका नृत्य गर्दा संगीत बजाउने गर्छन् । उनीहरूका शब्दभन्दा ध्वनि मात्र निकाल्छन् । र, त्यस्तै सांकेतिक नृत्य गर्छन् । जस्तो कि किरात राईहरूको साकेला र लिम्बूहरूको केलाङ नृत्य । समाजका सबैभन्दा जान्ने मान्छेले गीत गाउँछ अथवा जसले गीत गाउँछ उसलाई सबैभन्दा धेरै ज्ञानी मानिन्छ । जस्तो कि किराती धामीहरू । उनीहरूले गीतमा आफ्नो अलिखित इतिहास, सामाजिक नियमका कुराहरू गर्छन् । आत्मिक कुरा, आफ्नो थातथलो र प्रकृतिप्रेमका कुराहरू गर्छन् । बिरामी निको पार्ने, रोग हटाउने कुराहरू गर्छन् । जस्तो कि किराती मुन्दुम । यो सानो तुलनाले पनि किरातीहरूको मुन्दुमको लय र बाजाहरूको आदिमता आकलन गर्न सकिन्छ ।
आजसम्म मानवजातिले विकास गरेको संगीतबारे अध्ययन गरेका विद्वान् विलियम एल बेन्जोन समग्र संगीतलाई तीन चरणमा विभाजन गरेर हेर्छन् । उनी के भन्छन् भने प्रथम चरणको संगीतमा ताल या लयमा नियन्त्रण गरेर धुन निकालिन्थ्यो । यो भनेको भाषाको विकास भएको लगभग एक लाख वर्षदेखि लेखनकलाको विकास नभएसम्मको अवधि थियो । सायद यही अवधिको बाजा हो अहिले प्रचलित किराती धामीको ढोल ।
दोस्रो चरण थियो रागमा आधारित संगीतको । यो भनेको लेखनकला र सहरको विकास अनि कृषि गरेर स्थायी बसोबास गरिसकेपछिको अवधिको संगीत हो । यो अवधिमा विकास गरिएका किराती बाजाहरू हुन् थाल, झ्याम्टा र घण्टी । अनि तेस्रो चरणचाहिँ औद्योगिक क्रान्तिपछिको अवधि हो जुन ताल र रागलाई एकताबद्ध गरेर विकास भयो (‘स्टेजेज इन द इभोलुसन अफ म्युजिक’, सन् १९९३) ।
मुन्दुमचाहिँ ताल या लयमा नियन्त्रण गरेर गायन गरिने प्रथम चरणको संस्कारगीत हो । यसमा रागको कुरा हुँदैन । बरु यसमा दस हजार वर्षअघि खेतीपाती सुरु भएको कागुनी प्रजातिका अन्नहरूको सन्दर्भ खुबै आउँछ । आत्मवाद र पितृपूजाको कुरा महत्त्वपूर्ण विषयका रूपमा आउँछ । आदिम मानवहरूले विकास गरेको चिन्तन ‘एनिमिजम’ (जीवात्मवाद) को कुरा एकदमै धेरै आउँछ । जुन कुराका आधारमा मुन्दुम र मुन्दुमको लय आदिम हो भन्न सकिन्छ ।
एनिमिजम अर्थात् जीवात्मवादी अवधारणाले पशुपन्छी र प्रकृतिलाई पनि मानवीकरण गर्छ अर्थात् मानवस्व रूपमा परिकल्पना गर्छ । चराचुरुंगीहरू मानवसँग संवाद गर्छन्, मानवका सहयोगी बन्छन् । पशुहरू मानवसँग संवाद गर्छन्, मानवका सहयोगी बन्छन् । यसप्रकारका अनेकौं मुन्दुमी मिथक छन् । जस्तो कि सुम्निमा (नाइमा) का लागि केटा खोज्न जाने लमी चरा थियो । सुम्निमा (नाइमा) गर्भवती हुने बखत पानी खोज्न जाने चराहरू नै थिए । किरात राईहरूले खुबै श्रद्धा गर्ने मातृहरू तयामा र खियामा पनि चरा नै थिए । अन्य पशुप्राणीसँग सम्बन्धित यस्ता मिथकहरू पनि थुप्रै पाइन्छन् तर मुन्दुममा संगीतसँग सम्बन्धित मिथक चराको मात्र पाइन्छ ।
मुन्दुमी मिथकअनुसार आदिम समयमा मान्छे होइन चराहरू धामी थिए । त्यो चराधामीलाई अहिले पनि मुन्दुममा ‘मबुमी कुपुमी’ भनेर पुकार गरिन्छ । खस–नेपाली भाषामा यो भनेको काफलपाक्यो चरा हो ।
मुन्दुमअनुसार त्यही मबुमी कुपुमी (काफलपाक्यो) चराबाट सिकेर मानवहरू धामी बनेका हुन् । र, प्रथम मानवधामी हर्कबुङ थियो । किरात राईहरू हर्कबुङका सन्तान मानिन्छन् । चराहरूलाई प्रथम धामी मान्नुको अर्थ हो— चराहरूबाट गायन कला अनुकरण गर्नु । गायन मात्रै होइन, बाजाका तालहरू पनि चराबाट सिकेको कुरा मुन्दुममा आउँछ । धामीले घरपरिवारको शान्तिसुरक्षा अथवा मृतात्मालाई बाटो लगाउने चिन्ता गर्दा ढोलको एउटा ताल बजाइन्छ जसलाई धोबी ताल भनिन्छ । धोबी चरा भुइँमा जसरी उफ्रिन्छ, कुद्छ त्यही चालको अनुकरण गरेर बजाइने ताल हो धोबी ताल । यसरी किराती गायन र वाद्यवादन दुवै चराबाट धेरै हदसम्म प्रभावित भएको मुन्दुमी मिथकबाट थाहा हुन्छ । पुरातात्विक अध्ययनहरूले पनि यो कुरा तथ्ययुक्त रहेको देखाउँछ ।
आजसम्मको अध्ययनको कुरा गर्दा मानवले प्रयोग गरेको सबैभन्दा पुरानो बाजा ४० हजार वर्ष पुरानो बताइएको छ । र, त्यो बाजा बाँसुरी हो । र, त्यो बाँसुरी चराको नलीहाडबाट बनेको छ जुन जर्मनीमा उत्खननका क्रममा प्राप्त भएको हो । ती बाँसुरी गिद्ध र हाँसका हाडबाट बनाइएका हुन् (एन्टोन किल्लिन, ‘द ओरिजिन अफ म्युजिक’, सन् २०१८) । यस्तै चराकै हाडबाट बनाइएको बाँसुरी जर्मनीकै गेइसेनक्लोस्टेर्ल गुफा र फ्रान्सको इस्तुरिज गुफामा पनि फेला परेको छ जुन ३२ हजार वर्ष पुरानो मानिन्छ (रिचार्ड जी क्लेन एन्ड ब्लेक एडगर, द डन अफ् ह्युमन कल्चर, सन् २००२) । बाजाहरूमध्ये सबैभन्दा बढी पाइएको चराका हाडहरूकै हो । पुरातत्त्वविद्हरूले चराबाहेक बाह्रसिंगेको अगाडिको खुट्टाको नलीहाडलगायत पशुहरूका हाडबाट बनेका बाजाहरू पनि फेला पारेका छन्, तर तुलानात्मक रूपमा कम । सायद प्वाल पारेर बाँसुरी बनाउने कलाको विकास गर्नुभन्दा पहिले प्वाल नपारिएका हाड बजाइन्थ्यो जुन किराती धामीहरूले अहिले पनि आफ्नो सांस्कृतिक सामग्रीका रूपमा प्रयोग गरिरहेका छन् । चराकै हाडबाट बाँसुरी किन ? सायद यो प्रश्नको जवाफ मुन्दुमले केही हदसम्म दिएको छ । 

कोसेली

कहाँ हराए यी गीत ?

साँझमा करनउटी, जन्माउटी र फूलवार, मध्यरातबाट बिहानसम्म बिहेगरा, दिउसो गाइने दिननचवा र कहरा संरक्षणमा नयाँ पुस्ताको चासो छैन ।
- ठाकुरसिंह थारू

हुरडुगा नाच्दै थारू महिला ।

प्रकृतिलाई रिझाउन थारूहरू गीत गाउँछन् । जेठ असारमा पानी परेन भने ‘सिंँगरो र राजाचबिरल’ गुन्जाउँछन् । विरहको यो गीतले प्रकृति पनि निरीह बन्छ र वर्षा हुन्छ जनविश्वास अझै छ । राजा चरिबल उहिलेका राजाको जीवनीमा अधारित छ । यसमा महिलाहरू पुरुष बन्छन् । गीत गाउँदै नजिकैको गाउँमा गएर धावा बोल्छन् । गाईगोरु खोसेर ल्याउँछन् । गीतमार्फत चुनौती दिन्छन् । अर्को दिन गाईगोरु खोसिएका गाउँका महिला पुरुषको भेषमा छुटाउन पुग्छन् । गीतमार्फत युद्ध हुन्छ । गीतैबाट जितहार । गईया बेह्रना गीत पाण्डवको कथासँग जोडिन्छ । राजाले अरूको गाईगोरु खोसेको भन्दै पाण्डवले युद्ध गर्छन् । पानी पर्छ, अनि युद्ध रोकिन्छ । यसैलाई आधार बनाएर गीतमार्फत युद्ध गर्ने र वर्षा भएपछि रोकिने चलन गईया बेह्रना गीत हो ।
रोपाइँ गर्ने बेला छुट्टै गीत गाइन्छ । बढी वर्षा भएका बेला हलोलाई उल्टो गाडेर पानी रोक्न चुनौती दिने परम्परा पनि छ ।
बाह्रै महिना फरकफरक गीत छन् । पुसमा गुन्जिले दफका गीत फागुनसम्म चल्छ । माघी नजिकिँदै गर्दा सखिया नाच्न सुरु भइसक्यो । यतिबेला गाउँमा मघौता गीत गाउँमा सुन्न थालिएको छ ।
माघ लहाइली रे सुरिक सिकार खाइली रे हँ ।
सखियै हो माघीको गुरीगुरी जाँर ।
‘थारू समुदायमा मौसम र समयअनुसारका गीत छन् । हरेक महिना फरकफरक गीत गाउन सकिन्छ,’ थारू गीतका मोरहिया गोविन्द चौधरी भन्छन्, ‘थारू समुदायका गीत मायाप्रेममा मात्रै सीमित छैन, इतिहास, महाभारत रामायणसँग पनि सम्बन्धित छन् ।’ थारू समुदायका परम्परागत गीत गाउन माहिर उनका अनुसार वैशाखमा सजना र सजनी गाइन्छ । दिउसो र राति गाइने सजना फरक हुन्छ । दिउसो काम गर्ने क्रममा पुरुषले सजना गाउँछन् । राति गर्मी छल्न आँगनमा खटिया राखेर महिलाले पनि सजना गाउँछन् । चौधरी भन्छन्, ‘वैशाख–जेठ महिनामा पहिले जंगल जाने चलन थियो । त्यो बेला हामीले कठमदरिया गीत गाएको सम्झन्छु ।’
केही वर्षअघि गर्मी मौसममा महिला पिङ (बलहा) खेल्न जान्थे । तर पिङ खेल्दै मायाप्रेमका गीत गाउने चलन हराइसकेको छ । ‘यो गीत इतिहासमै सीमित भइसक्यो । पुराना पुस्ताले पनि बिर्सिसके,’ थारू गीतमा रुचि राख्ने गुरुराम थारू भन्छन् ।
कृष्णाष्टमीमा विभिन्न चराचुरुंगीको चित्र कोरेर पूजा गरिन्छ । रातभरि कृष्णको लीलामा आधारित गीत गाइन्छ । भदौको दोस्रो सातासम्म हरेरी पूजा गरेपछि दसैंलाई स्वागत गरिन्छ । वर्षापछि बालीमा हरियाली छाएपछि थारू गाउँमा हरेरी पूजा हुन्छ । त्यस दिनदेखि गाउँमा मादल बज्न थाल्छ । बालीनालीमा कीरा नलगोस् भनेर गरिने हरेरी पूजाले दसैं आगमनको संकेत गर्छ । हरेरीको दिन पहिलो वर्षको पहिलोपल्ट नाच गरिन्छ । त्यही दिनदेखि थारू समुदायले नाचगान गरी दसैंको आगमनलाई स्वागत गर्ने चलन छ । ‘हरेरी पूजापछि दसैं सुरु भइसक्छ । पहिले दिनभरि घाँस काट्ने र साँझ रमाइलोका लागि नाच्ने गरिन्थ्यो । अहिले नाचगानमा केही कमी आएको छ,’ थारू नाचगान गर्दै आएका पतिराम चौधरी भन्छन् ।
असोज–कात्तिकमा समयअनुसार गीत गाउँछन् थारूहरू । साँझका बेला हुर्डुंगा नाच चल्छ । १२ बजेपछि बिहेग्रा गीत गाइन्छ । हुर्डुँगा गीत थारू इतिहास, पहिलेका थारू राजाका कथामा आधारित छ । ‘एकै दिन र रातमा थरीथरीका गीत गाउनुपर्छ । समय (पाख) अनुसारका गीत गाउँदा फरकफरक शैलीको छ,’ थारू समुदायका अगुवा चन्द्रबहादुर चौधरी भन्छन् ,‘थारू समुदायको पहिचान नै गीतलगायतका संस्कृति हो ।’
मंसिरदृखि फागुनसम्म बिहेको महिना । थरीथरीका माँगर गाइन्छ । सम्धीसम्धी जोड्ने छुट्टाछुट्टै गीत गाउनुपर्छ । दुलहा पक्ष र दुलही पक्षले गाइने माँगर पनि फरक छन् । बरातीको स्वागतमा गाउँका किसानले फाग पढ्छन् । महिलाले माँगर । दुलहाका आमाले पनि माँगर गाउने गर्छन् ।
नौ महिना पुटा कोखियमा रहलो रे सराशरीर दूध पिलो रे ।
एकादिन गैलो पुटा ससुरा दुवारिया, ससुराका कैलो बयाना ।
(छोरा तिमी मेरो कोखमा नौ महिना रह्यौ । रातदिन दूध खायौ । तर एक दिन मात्रै के ससुराली गयौ, ससुराको बयान गर्न थाल्यौ ।)
आमाले यसरी छोरासंग गुनासो गर्दा जो कोही भावुक बन्छन् । दुलही पक्षले माँगर गाएर बिदाइ गर्दा सबैको आँखा रसाउँछ । ‘बिहेका बेला गाइने माँगर गीत रमाइलो छ । तर कतिपय गीतले मान्छेलाई रुवाइदिन्छ,’ लामो समयदेखि माँगर गाउँदै आएकी सीतारानी चौधरी भन्छिन्, ‘माँगर गीतले दुलहा पक्षलाई छेडछाड पनि गरिन्छ ।’
सयौं वर्ष पुराना थारू गीत समयपिच्छे फरक रहे पनि संरक्षण हुन सकेको छैन । साँझ करनउटी, जन्माउटी, फूलवार गीत मध्यरातबाट बिहानसम्म बिहेगरा, दिउसो दिननचवा र कहरा गीत गाउने परम्परा छ । जुनैसुकै बेला जुनसुकै गीत गाउन पाइँदैन । थारू समुदायको महान् पर्व माघीमा फाग पढेर रमाइलो गरिन्छ । थारू गाउँमा एक महिनाअघि नै माघ सुरु भइसकेको हुन्छ ।

हराएका गीत
थारू समुदायको निकै चर्चा पाउने परम्परागत झर्रा नाच हराइसक्यो । तीन दशकअघिसम्म थारू गाउँमा निकै नाचिन्थ्यो । किशोरकिशोरी सँगै नाच्थे । मायाप्रेममा आधारित गीत गाइन्थे । झर्रा मादलको तालमा एकसाथ समूह बनाएर नाचिन्छ । बर्दिया बाँसगढी नगरपालिका ४ लक्षणपुरका युवाहरू भने झर्रा नाच संरक्षणमा जुटेका छन् । उनीहरू पर्व, महोत्सव र मेलाहरूमा झर्रा नृत्य देखाएर नयाँ पुस्ताको संस्कृतिक चेत खोल्ने प्रयासमा छन् । लक्षणपुरबाहके थारू बहुल पश्चिम तराईका जिल्लामा झर्रा नृत्य देखिँदैन । ‘यो नाच लोप भइसक्यो भन्दा हुन्छ । त्यसैले हामी संरक्षणमा जुटेका हौँ,’ थारू गीतसंगितको संरक्षणमा लागिपरेका फागु चौधरी भन्छन् ।
थारू गीत संरक्षण गर्न हजारौं वर्ष पुराना गीतहरूको संकलन र रेकर्ड गर्नुपर्ने अगुवाहरू बताउँछन् । हुर्डुगा, बिहेग्रा, महिरावनलगायतका गीत पोठीमा लेखिएका छन् । सजना, माँग, धमार, दिननचवा, कहरा गीतहरू मौखिक रूपमै गाउने गरिन्छ ।
हिजोआज भोजपुरी र हिन्दीसँग मिल्ने डिजी गीत दैनिकजसो सार्वजनिक हुन थालेका छन् । थारू भाषाको चलचित्र भुरभुरा रहर, तुहारविना का जिना, अभागिन बनल सुहागन, बौछार, जाली संसार, लुटल जिन्दगी, करम, बहारलगायतका दर्जनभन्दा बढी फिल्म बने । तर तिनले लगानीसमेत उठाउन सकेनन् । अहिले फिल्मभन्दा पनि म्युजिक भिडियो बन्ने होड छ । 

Page 21
कोसेली

सृष्टि ब्युँझाउने आवाज

इक्सा खाम्बेक (ब्रह्माण्ड) टक्क रोकिएको बेला मान्छेले सृष्टि फेरि ब्युँझाउन होमा हो मिलाउँदै हाक्पारे गाउन थाल्छन् । अन्ततः हाक्पारे त्यस भूभागका आदिम जाति लिम्बूले गाउने सबैभन्दा जेठो, मीठो र शास्त्रीय संगीत बनिदिन्छ ।
- झुमा लिम्बू

हाक्पारे, ‘एऽऽ’ भन्दै सुरु हुन्छ र ‘ओरिल्लो’ भनेपछि टुंगिन्छ । त्यसैले एऽऽ भन्दै अब के भनौं भने, यो आलेख पढिरहेका मान्यजन, इष्टमित्र र साथीभाइलगायत यस ब्रह्माण्डमा रहेका सबै जीव, रूख, बोटबिरुवा अनि सुन्दर फूलहरू तथा दिवंगत भइसकेका प्रिय आत्माहरू, हामी आज मुन्धुमभित्रको हाक्पारे संगीतबारे कुरा गर्दै छौँ । हामी नेपालको रैथाने संगीतमा हाक्पारे संगीतको मुन्धुमी मिथकको कुरा अथवा हाक्पारे प्रागइतिहासको कुरा गर्दै छौं । यो मिथकलाई लेखको रूपमा उतारेर पाठकमाझ राख्दै छौँ । सुन्नुहोस्, हाक्पारे इतिहास ।
हाक्पारेको उठानमा फूल, युवती, यौन र संगीतको चर्चा छ । मुन्धुममा भनिएको छ, ‘उहिलेउहिले पृथ्वी लोकमा फूलको कमी हुँदा पुर्खा साङवोक्को सामलाङगावा र फुङवोक्को फङलाङगावाले खदिन लेप्पेना फूलको बिरुवा भेट्टाउँछन् । त्यसलाई पहाड–पर्वत र खोलानालाका छेउछाउ रोप्छन् तर त्यो सर्दैन । अन्ततः मुदक्कुम सेवा (घुन्सा खोला) मा रोप्दा त्यहाँचाहिँ सर्छ । छोटो समयमै फूलले चारै दिशा ढाक्छ । फूलले पृथ्वी नै जग्मगाएर सुहाएको अवसरमा त्यही फूलको सुवाससँगै परम सुन्दरी नेत्ती हाङमा फुङ तिअन्नामा प्रकट हुन्छिन् । त्यतिबेलै अःवासो सदेन हाङवाले उनलाई आफ्नो बनाउने प्रस्ताव राख्छन् । तर, ती सुन्दरीले केही सर्त राख्छिन् । सर्तहरू हाङवाले पूरा गर्न सक्दैनन् र युवतीले हाङवाको प्रस्ताव अस्वीकार गर्छिन् । र, पृथ्वीलोकमा आफ्नो शिर ढलेको भनी अलप हुन्छिन् । त्यसपछि पूरा ब्रह्माण्ड निष्प्राण हुन्छ— हावा बहन छोड्छ, पानी बग्न छोड्छ, ब्रह्माण्ड टक्क रोकिएको अनुभूत हुन्छ । रूख, बिरुवा र फूलहरू सबै ओइलिन थाल्छन्, ढल्न थाल्छन् । यसपछि
ब्रह्माण्डमा विरह छाउँछ । चराहरू विरह गाउन थाल्छन् । यस्तो अवस्थामा मान्छेहरूबीच पृथ्वी जगाउने, ब्रह्माण्ड जगाउनेबारे सल्लाह हुन्छ ।’
अब हामी पनि हाम्रा आदिम पुर्खा सामवोको, फुङवोकोले जस्तै फूल खोज्न थालौँ । जगत्का सारा जीवजनावर र पन्छीको नामको फूल जगाऔं । आदिम पुर्खा तरुनी/तन्नेरी नेत्तिहाङमा फुङ तिअन्नामा र अवासो सदेनहाङवाको नाममा सिङजाङगो याम्चाङगो फूङ (धँयेरो फूल) जगाउँदै मानव समाजको सबै उमेर र पुस्ताको नाउँमा फूल जगाउने मुन्धुम गाउन थालौँ । आदिम गायक सामकेलो केलो केवाफुङवा, साङवाङ तोक्लामुक्पा, साङगोतीमा, आङगोतीमा, साम्लो खाङलाङवा, साम्लो अक्तवा, साम्लो फुलुम साम्बा, साम्लो पैनावाहरूले जस्तै हाक्पारे गाएर यो ब्रह्माण्डका सारा सृष्टि फेरि जीवित पारौँ । सबै फूलहरू फेरि जगाऔँ । सृष्टिका सबै फूल जगाएपछि फेरि यस ब्रह्माण्डमा प्रेम फैलिनेछ र सृष्टि अगाडि बढ्नेछ । यही विश्वासमा गाइँदै आएको हाक्पारे अहिलेसम्म पनि त्यही विश्वासमै गाइएको पाइन्छ ।
मुन्धुम संगीतअन्तर्गत पर्ने हाक्पारे साम्लो (गीत) लिम्बू जातिको संगीत परम्पराको एक विशिष्ट विधा हो । ‘नोटेसन’, ‘टाइमिङ’ र ‘मेलोडी’ को आरोह–अवरोह, शब्द उपयोग, शब्द चयन, शब्द रचनाको हिसाबले यसमा विशिष्ट प्रकारको सांगीतिक विशेषता छ । हाक्पारे ‘लो पिच’ बाट सुरु हुन्छ र बिस्तारै ‘हाई पिच’ को उत्कर्षमा पुग्छ । त्यसपछि स्वरमा मीठास कायम राख्दै फेरि लो पिचमा ओर्लिन्छ । हाक्पारे लिम्बू समुदायको प्राचीन संगीत परम्परा हो । र, अहिले पनि गाउँघरमा विभिन्न पर्व र उत्सवहरूमा प्रचलित छ ।
हाक्पारे साम्लो तङसिङ (अनुष्ठान) हरूमा पनि गाइन्छ । यसका विभिन्न खण्डमध्ये जब फुङवा चाङमा खण्ड आउँछ, त्यहाँ नेत्तिफुङ (जोवनको प्रतीक फूल) को चर्चा चल्छ । जीवनको सार्थकता, सरसता र दीर्घजीवनका लागि जोवनफूल सधैँ जगमग बनाइराख्ने आह्वान त्यस चरणमा भेटिन्छ । जीवनको क्षणभंगुरता, चोलुङ (प्रतिष्ठा), मिक्किफुङ (प्रेम), नाहाङमा (सम्मान), साङसे निङवा (सद्भाव), आभामलुङ (पारस्परिकता), यङवा (करुणा), सेसेनिङवा (सद्चेतना) आदिको पनि यसमा उल्लेख हुन्छ । त्यसका साथै, मुजोक्लुङ खाजोक्लुङ (सृष्टि) देखि सभ्यतामा चलिआएको समाजभित्र रहेका सबै कुराहरू हाक्पारेमा समेटिएको छ । हाक्पारे गाउँदा एक जनाले गाएर विषय उठान गर्छ र बाँकी सहभागीहरूले ‘ओरिल्लो’, ‘ओसाक्क’ र ‘ओ रो’ जस्ता सही थाप्ने शब्दमार्फत गायनलाई सघाउँदै जान्छन् । अर्थात् गीतमै प्रश्न उठाउँदै र उल्लिखित विषयलाई थप प्रस्ट पार्दै लैजान्छन् । समसामयिक विषयदेखि गम्भीर विषयसम्म चर्चा र विश्लेषण हुने हुनाले यो गायनलाई समसामयिक लोक गायनअन्तर्गत पनि राखेर बुझ्न सकिन्छ ।
रैथाने भाषा त्यहाँको भूबनोटबाट निर्धारित भएजस्तै संगीत पनि भूबनोटसँग सम्बन्धित र प्रभावित हुन्छ । लिम्बूहरूको मूल थलो कहीँ अत्यन्तै भिरालो, विशाल चट्टानले बनेको पहाड र कहीँ समथर पनि छ । हाक्पारेको नोटेसन हेर्‍यौँ भने त्यसको संगीत बनोटमा पनि ती ठाउँहरूको प्रभाव भेटिन्छ । लिम्बू भाषाको बनावटबाट र यी जाति कस्तो ठाउँमा बस्छन् भन्ने सजिलै थाहा पाउन सकिन्छ । जस्तै अरू भाषामा तल–माथि, वर–पर चारै दिशाबाट कसैलाई बोलाउँदा ‘यता आऊ’ भने पुग्छ । तर, लिम्बू भाषामा माथिबाट तलकालाई बोलाउँदा ‘येः’ भनिन्छ । तलबाट माथिकालाई बोलाउँदा ‘थाङेः’ भनिन्छ । सम्म ठाउँ अथवा वर–पर बोलाउँदा भने ‘फेरेः’ भनिन्छ ।
ताप्लेजुङको तम्बरखोला क्षेत्र लिम्बू जाति बस्ने ठाउँमध्ये भिरालो र खोलैखोला भएको ठाउँ हो । त्यो ठाउँमा जन्मे–हुर्केकाले गाउने भाकालाई मौवाखोला अर्थात् धनकुटा, तेह्रथुम, पाँचथरलगायतकाले गाउने खिट्का
अथवा दिने मुड नै फरक पर्छ । त्यस्तै चारखोला इलाम, पाँचथरतिर गाइने भाका ताप्लेजुङ अथवा अन्य ठाउँकाले गाउँदा पनि त्यस्तै फरक महसुस हुन्छ । कहीँ बाह्रै महिना तम्बरसँगसँगै सुसेल्दै त्यहीँको भीरपाखामा ठोक्किदैँ फेरि तम्बरमा मिसिँदै–निस्किँदै गरेको भान हुने गायन भेटिन्छ भने कहीँ डाँडा, अक्करमा ठोक्किएर गुन्जिएको प्राकृतिक स्वाद भेटिन्छ । हाक्पारेको उठान ताप्लेजुङतिरबाट भएकाले होला, त्यसको आलापको उठान र बोल आलापजस्ता ठाउँमा गाउने शैली सुन्दर र गम्भीर सुनिन्छ, जुन अरूतिरकाले गाउँदा भेटिँदैन । त्यसको अर्कै स्वरूप भेटिन्छ । छोटो साधना र प्रयासबाट यो गायनमा पूर्णता खोज्न सम्भव छैन ।
हाक्पारे जान्ने येवा, फेदाङमा, साम्बा, आङसी र तुम्याङहाङहरूसँग सोधखोज गर्दा माथि सेवादेन, तावादेन, पान्दोलुङ, तम्बरखोलातिर र हाक्पारा छत्तर, मेन्छयायेम कोक्मा (डाँडा) हरूका नाम आए । ती ठाउँमा पुगेर हेर्दा कुनै समय ती कति स्रोतसाधनहीन र दुर्गम थिए भन्ने अनुमान गर्न सकिन्छ । त्यस्तो अवस्थामा प्रकृतिलाई नै स्रोत र साधन बनाएर संगीतको साधना गरिँदै आएको महसुस गर्न सकिन्छ । उदाहरणका लागि गाउँदै, डुल्दै र दैनिकीहरू सम्पन्न गर्दै गर्दा जुन पहरा अथवा चट्टानको प्रतिध्वनि राम्रो आयो अथवा आफ्नो स्वरसँग मिलेको जस्तो सुनियो, तिनै ठाउँमा बसेर गाउने गरियो । किनभने ठाउँपिच्छे सुनिने प्रतिध्वनि फरक हुन्छ, आफूले निकालेको आवाजको स्केलमा बस्दैन । फर्किएको प्रतिध्वनिको स्केल तल–माथि भएर आउँछ अर्थात् आफ्नो स्केलसँग मिल्दैन ।
जुन डाँडामा उभिएर गाउँदा आवाज जति पर पुर्‍याउन सकिन्छ, त्यहाँ पुगेर गाउने चलन त्यसैकारण बस्दै गयो । कालान्तरमा आएर ती ठाउँ मिथकबाट लोकइतिहासमा रूपान्तरित हुँदै गरेको अनुमान गर्न सकिन्छ । हाक्पारे र पालाम गायनसँग सम्बन्धित ठाउँहरू भौगोलिक हिसाबले पनि फरक महत्त्वका छन् । ती ठाउँहरूले सांस्कृतिक महत्त्व/आस्था बोकेकैले अहिले आएर तिनलाई विभिन्न धार्मिक आस्थासँग पनि जोडेको पाइन्छ ।
संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जोडिने एक पर्यटकीय स्थल गुफा पोखरीका शिरमा मेन्छयायेम डाँडा छ । लगभग ३२०० मिटर उचाइको यस डाँडामा लस्करै तरुनीहरू धान नाचेर उभिएजस्तो देखिएकाले यसको नाम नै मेन्छयायेम रहन पुग्यो । यस ठाउँलाई तरुनी/तन्नेरीको सिद्धि अथवा प्रतिष्ठाको ठाउँ (चोत्लुङ) मानिन्छ । मेन्छ्या भनेको तरुनी, येम भनेको उभिनु भन्ने अर्थ लाग्छ । सोही ठाउँमा केवाफुङबा, साम्लोतिमाहरूले हाक्पारे गाएको किंवदन्ती पनि छ । त्यस्तै ताप्लेजुङको पान्दोलुङ पनि राम्रो प्रतिध्वनि आउने गाउँको रूपमा चिनिन्छ । ताप्लेजुङको सिसाङवा र हाङसाङवा (खोला) को बीचमा मेन्थुक्मा सङगमबुङ भन्ने ठाउँमा थकाइ मार्ने चौताराजस्तो ढुंगामा बसेर सामकेलो केवाफुङवा र फुङजिरी फुङगाप्पोवाले हाक्पारे गाएको किंवदन्ती छ । हाल त्यो ढुंगा पहिरोले बगाइसके तापनि धनकुटा र पाँचथर जोड्ने तम्बरपारी पाँचथरमा हाक्पारा गाउँ नै छ । तल खोलालाई हाक्पारा घाट भनेर चिनिन्छ । त्यो ठाउँमा हाक्पारे गाउँदा अति मीठो सुनिने भएर नै हाक्पारा नाम रहन गएको स्थानीयहरूको भनाइ छ ।
खोलावारि धनकुटापट्टिबाट पारी पाँचथरपट्टि फर्केर गाउँदा साँच्चै अरू साथीहरूले मीठो स्वरमा कोरस गरिदिएको भान जोकसैलाई पनि हुन्छ । पारि पहराको र वारिपट्टिको डिलको उचाइ ठिक्क मिलेर त्यस्तो आवाज आएको हुनुपर्छ । धनकुटाको राजारानी गाउँमा साम्लो लुङथुङ छ, जसलाई संगीत साधकहरूको सिद्धिस्थल मानिन्छ । यी केही उदाहरण हुन् संगीतको भूबनोटसँगको संगमबारे ।
मान्छेले समाजमा बस्न थालेको समय केलाउँदै जाँदा कुनै अदृश्य शक्ति छ, जसले यो ब्रह्माण्डको रचनादेखि अहिलेसम्म चलाइआएको छ । त्यो शक्तिको नाम ठाउँअनुसार फरक–फरक हुन गयो । कसैले भगवान् भने, कसैले अल्लाह भने, कसैले के–के । तीबाहेक अनेकौँ आस्थाहरूको जन्म भयो । त्यही सन्दर्भमा लिम्बूले मानेको एक शक्ति हो तागेरा निङवाफु माङ । यस शक्तिको अर्थ धर्म र राजनीतिमा परिणत हुनुपूर्व, त्यस अदृश्य शक्तिले ठाउँ, समुदायअनुसार फरक नाम पाएको बेला, सिक्नलाई कुनै पाठशाला र विश्वविद्यालय थिएनन् । पुजारी, पादरी, धामी–झाँक्री, लामा, फेदाङमा, इमाम र येवा आदि नामका जान्ने गुन्नेहरूले जुन शक्तिको महिमा गाउनुपूर्व बिरामीलाई निको पार्न संगीत सुनाएर उपचार गर्ने विधि यही हाम्रो नेपालमै थियो, जुन ठाउँ अहिले पनि प्रचलित र सुरक्षित छ । एलोपेथिक उपचार विधि त कल्पना बाहिरै हुँदा र सम्भवतः आयुर्वेद/जडीबुटी चलाउने विधि पनि विकास नभएको बेलामा कोही मान्छे बिरामी पर्दा संगीत नै थेरापी थियो । सिद्धिस्थलबाट गीत गाइदिएपछि बिरामी निको हुने विश्वास कतिपयको अहिले पनि छ ।
हाक्पारे साम्लो के स्पष्ट गर्छ भने आदिम घुमन्ते फिरन्ते युग अर्थात् माथिल्लो ढुंगे युग (अप्पर पेलियोलिथिक युग, करिब ५ देखि १० हजार वर्षपूर्व) बाट नै डुल्दै–घुम्दै गाउन सुरु भएको हो । त्यसबेला घर बनाएर बस्ने चलन आइनसकेकोले ओढार, भीरपाखा, खोलानाला, डाँडा र हाक्पारातेम्बे अर्थात् समथर मैदानमा समेत बसेर गाउन थालियो । यही शैलीको गीत हाक्पारे साम्लोको रूपमा प्रसिद्ध हुन गएको हो ।
ब्रह्माण्डको गति नै रोकिएर विरह व्याप्त भएको बखत पृथ्वीवासीको पहिलो आवाज नै हाक्पारे संगीत हुनु र त्यो आवाजसँगै सारा जीवजनावर, बोटबिरुवा, नेत्तिफुङ (जोवनफूल) हरू फेरि जाग्न थाल्नु, तब हावा बहनु र एकसाथ पानी पनि बग्न थाल्नुले हाक्पारे एक विशिष्ट र महत्त्वपूर्ण संगीत ध्वनि हो भनेर पुष्टि हुन्छ । अकल्पनीय अवस्थामा केवाफुङवा र सामलोतिमाहरूलाई पुकारेर उनीहरूले जस्तै गाउन थाल्दा ब्रह्माण्डमा पुनर्सृष्टि भएको सत्य आफ्नो ठाउँमा होला तर धरतीको एक मानव समुदायलाई भने अनेक मिथक र कथाहरूमार्फत ज्ञान र दर्शन दिँदै आएको छ, हाक्पारेले ।
हाक्पारे संगीतलाई अहिलेको विश्वसंगीतअन्तर्गत नेपाली लोकसंगीतको परिभाषाअनुसार हेर्दा समसामयिक परिस्थितिअनुसार गाइने प्राचीन लोक तथा मौलिक गीत भन्न सकिन्छ । मुन्धुमअनुसार अनेक संस्कारमा गाइए पनि मृत्यु संस्कारमा गाउन थालेको एक उदाहरण दिनुपर्दा प्राचीनकालमा तेत्लार लामियोङमा हो, जसलाई इरेरे इधुक्नामा पनि भनिन्छ । उसको अन्तिम मृत्यु संस्कार खाउमा गरेपछि नावारा फियामलिङवा र नावारा फियामलिङमाले इनु फाताप हाक्पारे गाउने परम्परा बसाले । आज पनि अन्तिम मृत्यु संस्कारपछि रातभरि गाउने प्रचलन छ । यो गाउने सबै अवसरमा गायक/गायिकालाई सुङ्गुरको मासु, रक्सी र तोङ्बा चढाएर सम्मान गर्ने परम्परा आज पनि छ ।
मुन्धुमअनुसार जीवनको हरेक महत्त्वपूर्ण कर्मकाण्डपछि हाक्पारे गाइयो भने मात्र त्यसले पूर्णता पाउँछ । एउटा समाज चलाउँदा संगीतको महत्त्व कति रहेछ भन्ने कुराको पुष्टि हुँदै गर्दा, हाम्रै मात्र देशमा पनि यस्ता समाज र समुदाय प्रशस्त छन् भन्ने कुराको उत्तिकै महत्त्व छ । भौगोलिक, भाषिक अथवा अनेक हिसाबले जे जति समुदाय छन्, ती सबैजसोका आ–आफ्नै संगीत छन्, होलान् । संगीतको यस्तो मौलिक अस्तित्वलाई हामीले जति जगेर्ना गर्नुपर्ने हो त्यति हुन नसक्नु आफैँमा बडो चिन्तापूर्ण कुरा हो । यस्तो लाग्छ, हामी आफ्नै माटो चिन्दैनौँ, माटोको सुगन्ध चिन्दैनौँ, आफ्नो अनुहार चिन्दैनौं, आफ्नो आवाज चिन्दैनौं । यो सबै कुरा नचिनेपछि हामीलाई हाम्रो पहिचानबारे र हाम्रो मुलुकमा रहेको सौन्दर्ययुक्त विविधताबारे ज्ञान नहुनु आश्चर्य होइन । नेपाल विविध भाषा, संस्कृति, भूबनोट, वनस्पति, जनावर–पन्छीमा गर्व गर्न सकिने मुलुक हो भन्ने अघिल्ला पुस्ताले बुझेनन् । तर, नयाँ पुस्ताले पनि बुझेनन् भने हामी अहिलेका पुस्ताको इतिहास नामेट हुनेछ । हामी सबैले एकआपसका भाषा, संगीत र संस्कृतिको अन्तरमनदेखि स्वीकार गर्ने र त्यसमा गर्व गर्ने अभ्यास गर्नु जरुरी छ । मानव सभ्यतालाई यहाँसम्म ल्याई पुर्‍याउने मुख्य कडीमध्ये कला संस्कृति हो । अनेक संस्कृति मिलेर एउटा सभ्यता अगाडि बढ्छ भन्ने यस लोकले बुझोस् । हाक्पारेजस्ता विभिन्न मौलिक र विराट परम्परा नेपालको पहिचान बनोस् ।
ओरिल्लो ऽऽ ।

कोसेली

सामूहिक धुन

नेपाल खाल्डोमा मनाइने नेवाः जातिका जात्रापर्व वर्षमा ३६५ भन्दा बढी नै होलान् । ती सबै संगीतबिना पूर्ण हुँदैनन् ।
- सुरेश किरण
समूहमा दाफा भजन गाइँदै ।

संगीतलाई निकालिदिने हो भने नेवाः समुदायको जीवनको सुरसमेत खलबलिने खतरा हुन्छ । संगीतलाई यसरी जीवनसँगै जोडेर अनुष्ठान गर्ने जाति नेपालमा मात्र होइन, संसारमै विरलै होलान् ।
नेवाः संगीतलाई दुई विधामा विभक्त गरी विश्लेषण गर्न सकिन्छ– लोकगीत, दाफा भजन ।
लोकगीत गाउने समय र प्रहर तोकिएकै हुन्छ । नेवाः लोकगीतहरू ऋतुअनुसार, पर्व, संस्कृति संस्कारअनुसार गाउने गरिन्छ ।
नेपाल खाल्डोमा नेवाः जातिका अनगन्ती जात्रापर्वहरू छन् । वर्षमा जम्मा ३६५ दिन हुन्छन् । तर यहाँ मनाइने जात्रापर्व गणना गर्ने हो भने ३६५ भन्दा बढी नै होलान् । ती सबै जात्रा पर्वहरू संगीतबिना पूर्ण हुन सक्दैनन् ।
नेवाः समाजमा व्यक्तिगत रूपमा मनाइने संस्कारहरूसमेत बाजागाजासहित सम्पन्न गर्ने परम्परा रहिआएको छ । नेवाः संगीतका ज्ञाता एवं जनगायक रामकृष्ण दुवालका अनुसार नेवाः समाजमा कुनै महिला गर्भवती भइन् भने त्यसको समेत बाजा बजाई संस्कार गर्नुपर्ने चलन छ । त्यसपछि जन्मिएको बच्चाको किशोरावस्थामा कय्तापूजा, युवावस्थामा विवाह र वृद्धावस्थामा जंक्व (भीमरथारोहण) गर्दा मात्र बाजा बजाउने होइन मृत्यु हुँदा शवयात्रासमेत बाजा बजाएरै चलाउनुपर्ने चलन विद्यमान छ । यी अवसरहरूमा बजाइने बाजाले नै त्यहाँ कुन संस्कार सम्पन्न हुँदै छ भन्ने जानकारी दिन्छ । दुवाल भन्छन्, “जंगबहादुर बेलायत भ्रमणमा जाँदा उनलाई सलामी अर्पण गर्न ‘राजमति कुमति...’ लाई राष्ट्रिय गानको रूपमा प्रस्तुत गरिएको थियो ।” ‘राजमति..’ नेपालभाषाको अत्यन्त लोकप्रिय लोकगीत हो । यो गीत कति शक्तिशाली थियो भन्ने कुरा जंगबहादुरको यो प्रसंगले पनि बताउँछ । त्यस्तै अर्को लोकगीत ‘जि वया ला लछि मदुनि....’ बाट प्रभावित भएरै महाकवि लक्ष्मीप्रसाद देवकाटाले ‘मुनामदन’ लेखेका थिए । दुवालले नै २०४२ सालतिर ‘सिरसाःया ह्यकु...’ भन्ने अति पुरानो लोकगीत सार्वजनिक गरेका थिए । यो पनि कति शक्तिशाली छ त भन्दा ४०० वर्ष पुरानो यो गीत बज्दा आज पनि साना नानीहरू समेत कम्मर मर्काउन सुरु गरिहाल्छन् ।
नेवाः संगीतभित्र पर्व र अवसरमा मात्र होइन, एकै दिनमा विभिन्न प्रहरमा फरक–फरक गीत गाउने परम्परा छ । नेपाल खाल्डोका नेवार जातिमा अधिकांश कृषक रहेका कारण कृषि कार्यको विभिन्न चरणमा विभिन्न गीत गाउने चलन छ ।
खासगरी जेठमा मनाइने सिथि नखःदेखि साउनमा मनाइने गठेमंगल पर्वसम्म बाजा बजाउने वा सिकाउने काम गर्नु हुँदैन भन्ने मान्यता छ । यो भनेको विशुद्ध धान रोप्ने समय हो ।
नेवाः संगीतको अर्को मौलिकता हो– दाफा भजन । देवीदेवी–स्तुतीमा गाइने भजन नेवाः समाजमा दाफा नामले बुझिन्छ । प्रामाणिक इतिहासअनुसार, पनि ४५० वर्षअघि नै नेवाः समाजमा दाफा भजन गाउने चलन सुरु भइसकेको देखिन्छ । तत्कालीन राजा महिन्द्र मल्लले रचना गरेको एउटा भजन प्राप्त भएको छ जसको बोल हो, ‘कपटिया मायान केन्य हे रामा’ (कपटीको मायामा परेँ हे राम) । यो गीत विभाष राग र प्रताल तालमा गाउने भनेर गीतको माथि नै उल्लेख गरिएको छ । यो भजनलाई नै नेपालभाषाको पहिलो काव्यको रूपमा लिइएको छ । र, यसैको आधारमा महिन्द्र मल्ललाई नेपालभाषाको पहिलो आदिकवि मान्नुपर्छ भन्ने तर्क पनि गरिन्छ । यति पुरानो यो भजन पनि केही वर्षअघिसम्म गाउने चलन रहेको दुवाल बताउँछन् । उनी भन्छन्, ‘तीन–चार शताब्दी पुरानो कुनै पनि गीत आजको मितिसम्म यसरी गाएरै सुरक्षित गरिएको दुनियाँमा कहीं छैन, नेवाः समाजमा मात्रै छ ।’
सयौँ वर्ष पुरानो गीत यसरी आजसम्म जीवित रहनुको कारण अनौठो छ । यी दाफा भजनहरू एक पुस्ताले गाएको सुनेरै अर्को पुस्ताले सिक्ने हो । समूहमा गाउँदै–सिक्दै नै यो गीत–संगीत आजसम्म जीवित छ । समूहमा बसेर मौखिक रूपमै गीत सिकाउनु र सिक्नु पनि दाफा भजनको खास विशेषता हो भने यो नै यसको कमजोरी पनि हो । काठमाडौं चस्वाँद्वँ टोलका दाफा गुरु त्रिरत्न मानन्धरका अनुसार, दाफा भजनमा गीत र संगीत त छ तर त्यो सिक्ने–सिकाउने कुनै व्याकरण छैन, जसले गर्दा दाफा भजन विस्तार हुन पाएन । यो भजन सिकाउने कुनै सांगीतिक विधि, नोटेसन छैन । यो विभिन्न ताल र रागमा गाउनुपर्ने हुन्छ । तर, गायकहरूलाई त्यो ताल र रागको कुनै ज्ञान भने हुँदैन । त्यसैले यसमा सुधार नभएको मानन्धर बताउँछन् ।
दाफा भजन सुरु हुँदा नेपालमा हार्मोनियम, बाँसुरीजस्ता सुरवाद्यको चलनै थिएन । यो विशेषगरी खिं र ताः नामक परम्परागत वाद्यवादन मात्रै बजाएर गाउने गरिन्छ । ‘सुरवाद्य नभएको कारण गीत गाउँदा गाउँदै अब यसपछि कुन सुरमा जाने भनेर थाहा पाउन गाह्रो हुन्छ । त्यो समस्या हटाउन गीतको बीचबीचमा ‘हाँदे’ भन्ने एउटा शब्द प्रयोग गरिएको हुन्छ । समूह–नाइकेले ‘हाँदे’ शब्दलाई जुन सुरमा गाउँछ बाँकीले पनि त्यही सुरमा गाउँछन्,’ मानन्धर भन्छन् । दाफा देवीदेवताको गुणगान गरिएको रचना हो । तर, यो केवल भक्तिभाव र मनोरञ्जनका लागि मात्र गाइने गीत होइन ।
काठमाडौं खिचापोखरीस्थित पुखुद्यां टोलका गुरु शेषनारायण महर्जनका अनुसार, काठमाडौंमा ज्यापू समुदायको परम्परागत ३२ टोल छन् । हरेक टोलले १२ वर्षमा एकपटक सबै पुरुष ज्यापूहरूलाई विशेष तालिम दिने गर्छ, जसलाई ‘ओलाः छ्वयेगु’ भनिन्छ । यो संस्कार सम्पन्न गरेपछि मात्रै त्यस व्यक्तिलाई सम्बन्धित ज्यापू टोलको सदस्यका रूपमा स्वीकारिन्छ । त्यतिबेला उसले सिक्नैपर्ने विभिन्न कलामध्ये संगीत एक हो । दाफा र धिमे नसिकी उनीहरू ‘असली ज्यापू’ बन्नै सक्दैनन् ।
महर्जन अनुसार, ज्यापू टोल भन्नाले त्यहाँ एउटा सांगठनिक संरचना हुन्छ । टोलमा नायो, कजी र गुरु एक–एक जना अनिवार्य हुन्छ । नायोको काम हो– टोलको प्रशासनिक कार्य हेर्नु । कजीले व्यवस्थापन हेर्छ । गुरुको कामचाहिँ टोलका जम्मै ज्यापू सदस्यलाई बाजा सिकाउनु र बाजासम्बन्धी सम्पूर्ण कार्य सम्पादन गर्नु हुन्छ । उनै गुरुको मातहत धिमे, धाः, खिं, बाँसुरी आदि बाजाका लागि छुट्टाछुट्टै गुरुको व्यवस्था गरिएको हुन्छ ।
दाफा केवल बाजा होइन । यो एउटा संगठन हो । ज्यापू महागुथि नेपाःका केन्द्रीय अध्यक्ष राजभाइ जकःमिका अनुसार, दाफाको लागि एउटा संस्था अनिवार्य छ । लोकगीतका लागि संस्था अनिवार्य छैन । त्यो चाडपर्व, कृषिकार्य, ऋतु आदिका बेला जसले जहाँसुकै गाउन सक्छ । तर, दाफा त्यसरी गाइँदैन । यो डबली, पाटी, सत्तल वा मन्दिरअगाडि मात्रै गाइन्छ । उपत्यकाका नेवार समुदाय पछिल्लो समय विभिन्न कारणले रैथाने टोल छोडेर टाढा बसोबास गर्न पुगेका छन् । यसको असर उक्त टोलमा आयोजना हुने सामूहिक सांस्कृतिक पर्वहरूमा पर्न थालेको छ ।
ज्यापूलगायत अन्य समुदायमा दाफा, धिमे रहेजस्तै वज्राचार्य समुदायमा रहेको चचा गीत नेवाः संगीतको अर्को महत्त्वपूर्ण सम्पदा हो । खासगरी वज्रयानी परम्परामा प्रचलित चचा गीतमा गीत मात्र हुँदैन, यो नृत्यसँग पनि जोडिएको हुन्छ । यो गीत गाउँदा वाद्यवादनका रूपमा एउटै मात्र बाजा बजाइन्छ, त्यो हो– ताः (एक खालको सानो बाक्लो झ्याम्टो) । चचा गीत र नृत्य वज्रयानी बौद्ध परम्परामा प्रचलित गोप्य धार्मिक अनुष्ठान हो । तथापि अहिले यसका धेरै पाटा सार्वजनिक भइसकेका छन् भने अझ धेरै गोप्य नै छन् । काठमाडौंमा प्राचीनकालमै वज्रयानी अभ्यास सुरु भइसकेकाले चचा गीतलाई पनि १५०० वर्षभन्दा पुरानो मानिन्छ । यो गीतमा नेपालभाषाका भन्दा पनि संस्कृतलगायत पुरानो हिन्दी, बंगाली, उडिया र मैथिली शब्दहरू रहेकाले यसबारे बेग्लै अनुसन्धान चाहिन्छ ।
नेपालभाषाका लोकगीत हुन् वा दाफा अथवा चचा, यी सबै गीत–संगीत समूहमा बसेर सुनेरै मात्र सिक्नुपर्ने भएकाले यसलाई संगीतसम्बन्धी कुनै पनि शिक्षण संस्थाले स्थान दिएको पाइँदैन । नेपालमै पनि संगीत सिकाउँदा उत्तर भारतीय संगीत सिकाइन्छ, नेपालकै मौलिक संगीत सिकाइँदैन । चस्वाँद्वँ टोलका गुरु त्रिरत्न मानन्धर नेवाः संगीतलाई नेपालको संगीत शिक्षामा समावेश गर्नुपर्ने विचार राख्छन् । यसका लागि नेवाः संगीतलाई पुरानो श्रवण परम्पराबाट माथि उठाई प्राज्ञिक तहमा पुर्‍याउन उनी सुझाउँछन् ।

Page 22
कोसेली

सेलो हिँडेको बाटो

डम्फुको तालमा गाउने गीतलाई सेलो कसरी भनियो ? तामाङ समुदायमा केही मत छन् । एउटा मतअनुसार ‘स्याउ र लु’ बाट अपभ्रंस भएको हो । तामाङ भाषामा ‘स्याउ लु’ को अर्थ ‘नाचौं न’ हुन्छ । यही शब्द पछि सेलो बन्यो ।
- फूलमान वल

उनी हुन् ताम्बा । पङ्खे तामाङ । मधुरो नै सही, अझै पनि गाउँघरतिर उनको स्वर सुरिलो नै सुनिन्छ । उनको स्वरसँग धूवाँले खाएको निख्खर कालो रङको डम्फुको ताल पनि जोडिएर बग्छ । पेङ दोर्जेको कथा जीवित हुन खोज्छ । सिंगो तामाङ सेलोको गीति परम्परा तंग्रिने प्रयास गर्छ ।
गत मंसिर अन्तिम साता उनीसित भेट भयो गाउँमै । बहिनीको बिहेको रौनक चलिरहेको थियो । आँगनमा केही हूल तन्नेरी ‘गङ्नाम स्टाइल’ नाचिरहेका थिए । चोटामास्तिरबाट बिस्तारै झरे उनै पङ्खे आस्याङ । आँगनमा निस्केपछि उनले दायाँबायाँ हेरे, एकातिर बेहुला–बेहुली सजिएर बसेका थिए, अर्कोछेउ ‘गङ्नाम स्टाइल’ जारी थियो ।
‘तिगा ताजी ताजी...’ (के भयो भयो), दलानमा लस्करै सजाइएको प्लास्टिकको कुर्सीमा थचक्क बसेपछि उनले लामो निःस्वास ताने ।
तामाङ संस्कृतिअनुसार यो विवाह समारोहका लागि उनी बेहुलीपट्टिको ताम्बा चुनिएका थिए । बेहुलाको पक्षबाट गाउँकै अर्का ताम्बा थिए— वीरबहादुर वाइबा । उनले पुलुक्क पङ्खे आस्याङलाई हेरे । मुखामुख गरे । दुवै जनाको अनुहारमा सन्नाटा छायो ।
खासमा यहाँ, यी दुई ताम्बाबीच जुहारी चल्नुपर्ने थियो । रिमठिम गीत घन्काउनुपर्ने थियो । दुवैले बेहुला–बेहुलीलाई कसम खुवाएर ‘चारदाम’ को रीत फुकाउनुपर्ने थियो— तर दुवैले आ–आफ्नो डम्फु
झिक्नै सकेनन् । ‘गङ्नाम स्टाइल’ को भोल्युमले माहौललाई छोपिदियो ।
मयुङ (केटीको दाइ) भएको नाताले रीतबमोजिम सगुन मैले समातें । पङ्खे आस्याङले केटीको पक्षबाट र वीरबहादुरले केटाको पक्षबाट काइतेन (व्याख्यान) सुनाउन थाले । बेहुला–बेहुलीले रीतपूर्वक कसम खाए । जुनीभर सँगै जिउने वचन दिए । तर, यसपछि लगत्तै बज्नुपर्ने डम्फु भने बजेन । मैले पङ्खे आस्याङको अनुहार पुलुक्क नियालें । छटपटीले नै हुनुपर्छ, उनले एक गिलास आइराक (रक्सी) स्वाट्ट पारे । अनि मेरो कानैमा आएर फुस्फुसाए, ‘अब डम्फु सेलो हराउने भयो । गीत रेकर्ड गर्ने भए मात्रै म गाउँछु ।’
मैले सहमतिको टाउको हल्लाएँ । कोटको खल्तीबाट मोबाइल झिकें । पङ्खे आस्याङले बल्ल सुर समात्न थाले । वीरबहादुर आस्याङ पनि त
तम्सिनै पर्‍यो—
आमैले होई आमैले
आमैले होई आमैले
ठिन्गी ङाप्ता आहिन ङा
दोन्गी दोप्ता आहिन ङा
दुवैले मातृ वन्दना गरेपछि मात्रै गीत पकडे । यसरी गाइने ताम्बा गीत तामाङ सेलोको मूल मानिन्छ । यही मुहानबाट बग्दै गएको लयले सेलोका थुप्रै भाका र विधा तय गरेको छ । सांस्कृतिक ज्ञान र दर्शनमा पोख्त भए पनि आफूलाई सानै ठानेर ‘ठिन्गी ङाप्ता आहिन ङा’ (साधनाले सिद्ध तान्त्रिक र विद्वान् हैन म), ‘दोन्गी दोप्ता आहिन ङा’ (पूरा ताम्बा पनि हैन म) भन्दै गाउन थाल्ने ताम्बा गीतको परम्परालाई पङ्खे र वीरबहादुर आस्याङले समात्न थालेपछि बल्ल हाम्रो आँगनको रौनक फेरियो ।
ताम्बाको पछिल्लो मनोविज्ञान झल्किने यो सन्दर्भ यहाँ उल्लेख गर्नुको खास कारण छन्— तामाङ समुदायको रैथाने संगीत परम्परा र यसमा जोडिएको ताम्बाको महत्त्व । ताम्बा अर्थात् ‘ताम (कुरा) गर्ने मान्छे ।’ इतिहास, संस्कृति र परम्पराको कथा भन्ने संस्कृतिविद् । कथावाचक । तामाङ समाजले दिएको सांस्कृतिक पदवी । रोचक के भने ताम्बाहरूले आख्यानको सोझो व्याख्यान मात्रै हैन, गीतबाटै कथा पनि सुनाउँछन् । बाजामार्फत इतिहास भन्छन् ।
ब्रह्माण्ड, पृथ्वी, मानव सभ्यता उत्पत्तिदेखि वंशावली र प्रेम प्रणयका सांस्कृतिक र दार्शनिक जरो खोतल्छन्, गीतबाटै । नाच्दै कथा भन्छन्, कथा भन्दै नाच्छन् ।
आजको तामाङ सेलोको मुख्य सांस्कृतिक आधार हुन् ताम्बा । तामाङ समुदायको बिहे, व्रतबन्ध र मृत्यु संस्कारमा ताम्बाले गर्ने थुप्रै अनिवार्य विधिहरू छन् ।

एउटा आदिम कथा
तामाङ सेलो भन्नेबित्तिकै डम्फु आइहाल्छ । डम्फु र तामाङ सेलोबिच नङ–मासुको सम्बन्ध छ । डम्फुले ताल सिर्जना नगरी सेलोको पहिचान नै हुँदैन । यस्तो हुन सक्छ— सम्भवतः पहिले ताल सिर्जना भयो । त्यसपछि लय । ताम्बाहरूले सुनाउँदै आएको एउटा आदिम कथाले यही भन्छ ।
कथाअनुसार, पेङ दोर्जे एक आदिमानव थिए । सिकार खेल्दै जाँदा उनले एक दिन घोरल मारेर घर लिएर आए । तर, मरेको घोरल देखेपछि पेङ दोर्जेको प्रेमिका निकै दुःखी भइन् । प्रेमिका दुःखी भएपछि पेङ दोर्जे खुसी हुने कुरै भएन । उनी पनि दुःखी भई वनजंगल चहार्न थाले । एक दिन झोक्रिरहेको बेला भाले डाँफेले आफ्नी पोथीलाई नाच्दै फकाइरहेको देखे । पेङदोर्जेको मस्तिष्कमा बत्ती बल्यो । उनी घर फर्के । घोरलको छाला घाममा सुकाए । कोइरालाको हाँगो र बाँस काटिल्याए । कोइरालाको काठबाट गोलो घेरो बनाए, त्यसैमा घोरलको छाला मोरेर बाँसको काँटी वरिपरि ठोके । डम्फु तयार भयो । पेङ दोर्जेले डम्फुमा तीनपटक हातले हिर्कार्एर हेरे । गजबको आवाजसहित ताल सिर्जना भयो । यसपछि गीत गाएर प्रेमिका फकाउन थाले । डम्फु बजाउँदै पेङदोर्जे फुरफुर नाचेको देखेपछि प्रेमिकाको मुखबाट हाँसो फुत्कियो । उनीहरूको प्रेम नवीकरण भयो ।
विवाह र व्रतबन्धको बेला ताम्बाहरूले डम्फु उत्पत्तिको यही कथा सुनाउँछन् गीतमै । यस हिसाबले पेङ दोर्जे डम्फुको सिर्जनाकर्ता मात्रै थिएनन्, कुनै अमुक समयको आदिगायक पनि थिए । सेलो संगीत सभ्यताको सुरुआतकर्ता थिए । आज उनी कतै पेमा दोर्जे त कतै ब्योन दोर्जेको नामबाट समेत चिनिन्छन् । जहाँ जस्तोसुकै रूपमा चिनिए पनि पेङदोर्जे अस्तित्वमा नआएको भए आजको यो डम्फु यही रूपमा हुने थिएन, सेलो यो लयमा गाइने थिएन । तामाङ संस्कारिक कार्यमा ताम्बाहरूले डम्फुको यो उत्पत्ति कथासँगै बह्माण्ड, पृथ्वी, सुमेरु पर्वत, मानव सभ्यता, चार दिशा चार कोण उत्पत्तिको कथा पनि सुनाउँछन् ।

सेलोका हाँगा
डम्फुको तालमा गाउने गीतलाई सेलो कसरी भनियो ? तामाङ समुदायमा केही मत छन् । एउटा मतअनुसार सेलो ‘स्याउ र लु’ बाट अपभ्रंस भएको हो । तामाङ भाषामा ‘स्याउ लु’ को अर्थ ‘नाचौं न’ हुन्छ । तामाङ विद्वान्हरूका अनुसार यही शब्द पछि सेलो बन्न गयो । खासमा तामाङहरू गीतलाई ‘व्हाई’ भन्छन् । पछिल्लो समयचाहिँ ‘व्हाई’ र ‘सेलो’ उस्तै उस्तै बन्न पुगेका छन् । यद्यपि पश्चिमी तामाङ सभ्यता (काठमाडौंदेखि पश्चिम भेक) मा ‘म्हेन्दोमाया’, ‘साइकोले’ जस्ता भिन्नै गीति परम्परा अस्तित्वमा छन् ।
सेलो आधारित थुप्रै मौलिक रैथाने व्हाई भेटिन्छन् तामाङ समुदायमा । विवाह, व्रतबन्ध, मृत्युसंस्कार र कृषिकर्म गर्दा गाउने गीतहरू फरक–फरक छन् । मृत्यु संस्कारको बेला गाउने प्रचलन पनि छ तामाङ समुदायमा । थुन्दा सोर्बा (मृतकलाई बाटो खर्च दिने) काम सकेपछि मृतकले बाँच्दाको दैनिक जीवनचर्याको विषयमा ज्वाइँ (माक्पा) ले गीत गाउनुपर्छ । यस्तो गीतलाई ‘कल्पला व्हाई’ भनिन्छ ।
मूलतः सेलोका दुई धार छन्— ताम्बा व्हाई र फापरे । ताम्बा व्हाई संस्कारिक गीत हो भने फापरे प्रणयपरक । फापरे सेलोका पनि अनेक रैथाने संस्करण छन् । सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, रामेछाप, काभ्रेदेखि सिन्धुली र मकवानपुरसम्मका तामाङ समुदायमा भिन्नाभिन्नै लयका फापरे गीतहरू छन् । मुख्यतः ताम्बा व्हाई र फापरे यी दुई धारको प्रभाव ग्रहण गरेर आजको आधुनिक सेलो जन्मिएको हो ।

तीन पेङदोर्जे
तामाङ समुदायभित्र प्रचलनमा रहे पनि सेलोलाई बाहिर ल्याउन विभिन्न कालखण्डमा विभिन्न साधकले योगदान गरेका छन् । यसमा सबैभन्दा पहिलो नाम आउँछ झ्याम्याङ लामा । विसं १९७६ मा काभ्रेको दाप्चामा जन्मिएका यिनले २०१३ तिरै रेडियो नेपालमा तामाङ सेलो गाएका थिए । पहिलोपटक मिडियामा तामाङ सेलो गाउने नयाँ समयका यी पेङ दोर्जेले विसं २०२२ मा ‘तामाङ डम्फाला काइतेन व्हाई’, २०३८ मा ‘रुइछेन च्याप्के ताम्बा काइतेन’ गीति पुस्तक र दुई दर्जनभन्दा बढी तामाङ रैथान गीत संकलन गरेका थिए ।
यसपछि रेडियो नेपालबाट अर्को पेङ दोर्जे जन्मिए— चन्द्रकुमार मोक्तान । तीसको दशकमा काभ्रे महाभारत क्षेत्रको भीमखोरीबाट भागेर काठमाडौं आइपुगेका यिनी रेडियो नेपालको ‘फूलबारी’ कार्यक्रममा तामाङ सेलो गायक भएर निस्किए । दर्जनौं गीत गाए, थुप्रै एल्बम निकाले । उनका क्यासेट चक्काहरूले चालीस र पचास दशकमा तामाङ समुदायमा ठूलो प्रभाव पार्‍यो । त्यतिबेलाका प्रायः उनका गीत ताम्बा काइतेनबाटै प्रभावित थिए ।
सेलोका आधुनिक पेङ दोर्जे हुन्— चन्द्रकुमार दोङ । काभ्रे तेमाल मेच्छेका यिनलाई तामाङ सेलो आधुनिकरणका सेतु मानिन्छन् । अहिले बजारमा नाम चलेका धेरै जना सेलो गायक यिनकै धारलाई पछ्याइरहेका छन् । उनलाई पछ्याउने क्रममा रैथाने संगीतको मर्म र विश्व संगीतको ट्रेन्डलाई सही तरिकाले नबुझेका केही गायकले यो धारलाई विकृत बनाउने कोसिस पनि गरिरहेका छन् । अहिले तामाङ समुदायमा यही आधुनिक धारको हालीमुहाली छ ।

मैंच्याङ होई मैंच्याङ
नेपाली सांगीतिक मूलधारमा सबैभन्दा बढी प्रभाव छोड्ने रैथाने संगीतको स्वाद विश्लेषण गर्ने हो भने तामाङ सेलो पहिलो पंक्तिमा आउनेछ । अहिले नेपाली सुगम, पप, रकदेखि रिमिक्ससम्मको विधामा सेलोको प्रभाव देखिन्छ । नारायण गोपालको ‘यो मुटुलाई कसरी सम्झाई बुझाऊँ...’, गोपाल योञ्जनको ‘सानोमा सानो भन्दैमा...’, ‘मैंच्याङ होई मैंच्याङ...’ जयनन्द लामाको ‘कलकत्ते काइँयो...’ देखि नेपथ्यको ‘भेंडाको उनजस्तो...’, ‘मै मरि जाउँला, सिरानमा फोटो छ...’, संगीतकार आभास फुँयालको ‘हिउँ खोलाको पानी...’, आभासकै शब्द रहेको रामेशको ‘लेकका हामी केटाकेटी...’ सम्म सेलो आधारित हुन् । युट्युब मात्रै सर्च गर्ने हो भने पनि अहिले सयौं नेपाली सेलो गीत भेटिन्छन् ।
यो प्रभाव अहिले होइन, बीसको मध्यदशकबाटै सुरु भएको मानिन्छ । तीसको दशकमा यो प्रभाव बढी नै विस्तार भयो । गोपाल योञ्जन र जयनन्द लामा त तामाङ समुदायकै थिए, कुमार बस्नेत, नारायणगोपालदेखि शम्भुजित बाँस्कोटासम्मले यही समय सेलोको प्रभाव ग्रहण गरे । कुमार बस्नेत बढी ठेट लोक सेलोतिर ढल्किए, तीनताक उनले गाएको ‘आमैली आमैली ज्यान खैलाला...’ लगायतका सेलो गीत युनेस्को आरकाइभमा समेत सूचीकृत छन् । यसरी प्रभाव ग्रहण गर्ने नेपाली भाषाको सेलोमा अहिले ठेट र आधुनिक सेलो गरेर दुईवटा धार देखापरेका छन् । आधुनिकभित्र अरू उपधार पनि छन् ।

फैलिएको आयाम
यो आलेख तयार पारिरहेका बेला गायक रोज मोक्तान, रोशन फ्युबा र गायिका वैशाली लामा कोरियाका लागि आकाशमा उडिरहेका थिए । एक दिनअघि मात्रै अर्का सेलो गायक संजीव वाइबा, गायिका अञ्जु लामा र म्हेन्दोमाया गायक राम गोम्जा कतार अवतरण गरिसकेका छन् । तीन दिनअघि नै अस्ट्रेलियाको
सिड्नी ओर्लिसकेका हुन्, गायिका निर्मला घिसिङ र गायक विश्व दोङ । रैथाने संगीतको धार समातेर आफ्नो समुदायमा स्थापित भएका यीलगायतका गायक/गायिका अबका तीन महिना व्यस्त हुनेछन्, ल्होछार कन्सर्टका लागि ।
मुलुकभित्र र बाहिर हुने कन्सर्टहरूले सेलोको आयामलाई फराकिलो पारिरहेको मान्न सकिन्छ । झन्डै डेढ देशकअघिदेखि यो परम्परा सुरु भएको हो, अहिले झ्यांगिएको छ । तामाङ कलाकार संघमा २ सयभन्दा बढी गायक/गायिकाको नाम सूचीकृत छ । वर्षमा १ सय ५० भन्दा बढी त नयाँ गीत रेकर्ड भइरहेका छन् । केहीबाहेक प्रायः सबैले आधुनिक धार समातिरहेका छन् ।

अब घरतिरै फर्कौं
ताम्बा पङ्खे आस्याङ त्यसै न्याउरिएका होइनन् । गाउँमा न्यु मिडिया र बजार एकैपटक पसेका छन् । रैथाने गीत र लय हराएका छन् । के–पप ‘गङनाम स्टाइल...’ को म्युजिक भिडियोमा घोडाको लगाम खिचेजस्तै उपभोक्तावादले सबैतिर लगाम खिचिरहेको छ । यसको ठूलो प्रभाव देखिन्छ सेलो संगीतमा । युट्युबमा पछिल्लोपटक अपलोड गरिएका गीतलाई आधार मान्ने हो भने अब तामाङ सेलोबाट डम्फु र टुङ्ना लगभग हराइसके । सबै जना सजिलोका लागि किबोर्डको सहयतामा लुप म्युजिक चलाइरहेका छन् । अध्ययन–अनुसन्धान र गहिरो ज्ञानका आधारमा भन्दा पनि ‘चर्चित हुन’ गायक–गायिका बन्ने होडबाजी चलिरहेको छ, जसले गर्दा सेलो भनिएका गीतहरू आफ्नो संगीत सभ्यताको घर त्याग्दै परदेश हिँडिरहेका छन् ।
हुन त, रैथाने वाद्ययन्त्रको प्रयोगबिना पनि सेलो हुन सक्छ, लय र तालको आधारमा । पश्चिमी र बाहिरिया अन्य वाद्ययन्त्रबाटै पनि डम्फु–टुङ्नाको ताल र धुन निकाल्न सकिन्छ । यो सुझबुझपूर्ण तरिकाले गरिने एउटा भिन्नै प्रयोग हो । रोचक के भने तामाङ समुदायमा पछिल्लोपटक ठाडो काँठे भाकाको प्रभाव पनि भित्रिएको छ, जसलाई एकथरी संगीतकर्मीले सेलो नै भनिरहेका छन् । तामाङ भाषाको काँठे दोहोरी गाउने परम्परा डेढ दशकअघि चन्द्रकुमार दोङले नै ‘चलन चल्तिरी...’ बाट सुरु गरेका थिए । अहिले यो धारका थुप्रै गीत भेटिन्छन् । यो धार समाउने पछिल्ला गायक हुन्, अशोक तामाङ । उनको ‘बोर्ला ङाई याम्बुरी... (लैजान्छु काठमाडौंमा) अहिले युट्युबमा चर्चित छ ।
तीन साताअघि गायिका निर्मला घिसिङ र सुसन लामाको नयाँ गीत ‘च्याङबाको दरबन्दी...’ रिलिज हुँदै गर्दा तामाङ कलाकार संघका अध्यक्ष संजीव वाइबा गम्भीर देखिए । ‘तामाङ रैथाने संगीतमा अब बहस जरुरी छ’, उनले भने ।
मैलेचाहिँ पङ्खे आस्याङको अनुहार सम्झें । सायद सेलोले पनि अब घर फर्किनुपर्छ । चर्चित अंग्रेजी रक ब्यान्ड बिटल्सले उहिल्यै गाएकै हो, ‘गेट ब्याक जोजो, व्होयर यु वान्स बिलोङ्ग्ड... ।’ 

कोसेली

सोरठीमा माझी–कुमाले कथा

सिर्जनाको मूलस्रोत हो, श्रम । रैथाने गीतको स्रोत पनि दैनिक लोकश्रम । यस्ता गीत कृत्रिम गीतहरूबाट टाढै हुन्छन् । एकल व्यक्तिको भन्दा पनि समुदाय या जम्मै जनताको रचना ।
- छम गुरुङ
घाटुगीत गाउँदै दुई बालिका

मलाई सङ्लै याद छ । सानो छँदा आमाले नाङ्लोले निफन्दा, जाँतो घुमाउँदा, ‘थर्‍≈व’ (बख्खुको तान) बुनिरहँदाको नियमित ध्वनिसमूह । बाले जोत्दा, मदुस बनाउँदा, निगालो चिर्दाको आवाजको तिखो–याद । सामूहिक या एकल श्रम पर्दा सामूहिक लयबद्धता कायम गर्न गीत गाइन्छ । मेरो गाउँतिर ‘स्योंदास्योंदी स्योऊ...’ एकसाथ बोलिन्छ । यो थेगो हो, श्रमिकको लयबद्ध आवाज ।
सिर्जनाको मूलस्रोत हो, श्रम । रैथाने गीतको स्रोत पनि दैनिक लोकश्रम । भाषा, संस्कृति, अर्थव्यवस्था र सभ्यता स्वतः जोडिने भइहाल्यो । यसर्थ साँचो कला जीवनका लागि न कि कला कलाका लागि । रैथाने गीत कृत्रिम गीतहरूबाट टाढै हुन्छन् । एकल व्यक्तिको भन्दा पनि समुदाय या जम्मै जनताको रचना ।

फाँन्गी
अठार सय खोलातिर प्रचलित ‘फाँन्गी’ यलल भाका हो, विरह पोखाइने । मेलापर्मबाट फर्केर साँझ कतै भेला हुँदा, रोधीमा, गोठमा, जात्रा–पर्वमा फाँन्गी गाइन्छ । यो भाकाले पनि हाम्रो तमू भाषाको माध्यम खोज्छ ।
फाँन्गी कसैले नसुनिने, नदेखिने ठाउँतिर एक्लै–एक्लै गाइहिँडेको पनि पाइन्छ । विशेषतः निजी दुःख–व्यथालाई फुकाइने चलन छ । कोही विछोड, कोही पीडित, कोही सन्तानविहीन, कोही कसैको पर्खाइमा हुन सक्छन् । रात–रातभरि नै पनि गाइरहन सक्छन् । फाँन्गीले धेरैको आँसु थाम्न गाह्रै पार्छ ।

घाटुगीत
घाटु एउटा अलिखित ऐतिहासिक दुःखान्त नृत्यगीत हो । ज्युँदालाई घाटुले र मृतकलाई सेर्काले स्वागत गरिने लोकचलन छ । लमजुङका राजा पश्रामु (प्रताप शाही) पर्वत–लोहाँसुरमा युद्धमा मारिनु, रानी अम्बावती/यम्फावतीको सतीगमन र छोरा बालकृष्णको वरिपरि घाटुकथा घुम्छ । तर वास्तविक घटना नभई प्रताप शाहीका जनताले आफ्ना राजारानीको सम्झनाको निमित्त रचेको एउटा अतिरञ्जित नृत्य हुन पनि सक्छ । लमजुङ बृहत् नेपाल राज्यमा गाभिइसके तापनि ‘कुन दिन मर्‍यो लमजुङे राजा देशै भयो अँध्यारो’ भनी अझै लमजुङेहरू गाउँदै छन् । घाटुको सुरुआत मर्स्याङ्दी शिरको चच्क्युबाट भएको हो । (गुरुङ, जगमान, तमुवानको ऐतिहासिक वृत्तान्त, पृ.१९८) ।
घाटु खासगरी सतीघाटु र बाह्रमासे हुन्छ । घाटु सेलाउँदा मण्डपबाट चण्डीस्थानको दुइटा देउरालीमा जान्छन् । दुई जना घाटु, गुरुबा (गीतिनेता), गुरुमा, सुसारेहरू संलग्न हुन्छन् । समूह–गायनले अलग शैली बनाउँछ । गाउँदा वैकल्पिक सास खिच्नुपर्छ । घाटुगीत यलल, ढिले र चम्के गरी तीन भाकामा गाइन्छ । गीत–रागसँगै बन्दुक पनि पड्काइन्छ । दूधको कुवा, पानीको कुवामा रानीले राजाको मुहार हेर्नु र दूधको छायामा पाउनु । नौतले चिताको सोलामाथि रानीको सतीगमन हुन्छ ।

सेर्का/तुङ्लुङ गीत
सेर्का/छ्याँदु/तुङ्लुङ गीत मृतकको अर्घुमा गाइन्छ । यो प्रदर्शनकारी गीतिनाच तमू–मिथकमा आधारित छ । ‘ह्री’ पन्छाइने मृत्युगीत हो । नौदेखि बाह्र तालमा गोलबद्ध नाचगान हुन्छ । तम्दु, ङ्ह, भुस्या आदि बजाइन्छ । पुरुष भए भाले ताल, महिला मृतक भए पोथी ताल । गायनको लम्बाइ तय गरिएको हुँदैन । अठारसय खोलातिर ‘तुङ्लुङ’ को सुरु ‘स्यावेपँडी’ बाट भएको पाइन्छ । यो पये/तोमोँमा मात्र गाइन्छ । गाउँदा टोलीका दुई गर्राले प्रश्नोत्तरात्मक उठान गर्छन् ।
होहो हो हो होहो लाला लुलु लुमः, सु म्ही लुमः ?
होहो हो हो होहो लाला लुलु लुमः,
स्यिम्हिसे लुमः ।
गीतिनेताले बिमार कसको भागमा पर्दै छ भन्ने सवाल उभ्याउँछन् । अर्को टोलीले जवाफमा विसन्चो हुँदै आएको ‘सिम्ही’ हो भन्छन् । मृतक–यात्रा मनाङको ख्यो–कु/ओप्लेकोँ हुँदै पुर्खाको आदिभूमि तिब्बततर्फ हुन्छ ।

सोरठी
सोरठी गीत राजा जयसिंगे, रानी हेमैती र छोरीको बारेमा हो । माझी–कुमालेको कथा पनि जोडिन्छ । राजकुमारीको जन्मप्रति हेमैतीको सौतालाई स≈य हुँदैन । पुरेत र ज्योतिषीले राजकुमारीलाई नदीमा बगाइदिनुपर्ने षड्यन्त्र बुनिदिन्छन् । सुनको सन्दुक सन्पाटले बेरेर बगाइदिन्छन् । पछि कुमालेले भेट्छ, पाल्छ । यो पनि घाटुजस्तो शासककै गाथा हो । पात्र–नाम र गीत ठाउँ–ठाउँमा अलि फरक पर्न सक्छ । सोरठी, मारुनी, करङनाच, कतै पाङ्दुरे (गुरुङ, नारायण ल्हेँगे, तमु जातिको चिनारी, पृ. १२०) ।

रोधी र केही भाका
रैथाने गीतको मुख्य रक्षक संस्था नै रोधी : गीतघर । घरधनी : रौस्यो आमा, रौस्यो प्है । युवती (रौस्यो) हरू नाचगान मात्र हैन, पुवाबाट धागो झिक्ने, बुन्ने, पात गाँस्नेजस्ता काम नि भ्याउँथे । निश्चित यही गीत गाउने भन्ने हुँदैन । जस्तो माहोल त्यस्तै गीत, उस्तै मादलको थप्का । रोधी भन्नु मादल, मादल भन्नु नै रोधी । तर बाजारुया गीतहरूले खाँदै पनि गयो ।
कौरा खासगरी गुरुङ–मगर माझमा प्रचलित भाका । मेलाजात्रा, पर्व, रमझममा । खैंजडी, मजुरा पनि साथमा । कौरा/चुड्का :
दिलै बस्यो माया लाउनीमा, पोखराको जहाज उडिगयो छाउनीमा रूखको सिंयालैमा बसीमा बसी दिनभरि तिम्रै सम्झना... (थापा, धर्मराज, गण्डकीको सुसेली, पृ.१३७)। ब्रिटिस–भारतीय भर्तीको प्रभाव, लाहुरेको चिठीको वेदनामा गीत । आजभोलि चिठी हरायो होला, तर पीडा त छँदै छ ।
कौरा, चुड्का, कुरुवा, कौडा, कहरा आदि नौवटा नाम । उत्पत्ति तनहुँको ‘मानपाङ’ गाउँ –तमू, च्हाक्ली, तमू भाषा साहित्यको अध्ययन, पृ.८०) । तर गीदांगेको भाकाले सबैलाई जोड्दै आएको पाइन्छ । गुरुङ गाँवैपिच्छे कुनै न कुनै भाका भेटिन्छन् : ठाडोभाका, तेर्छोभाका, लसके (सामूहिक गायन) ठाडोभाका आदि । स्याङ्जाको र्‍याले गाउँतिर प्याखुली भाका । हरेक भाकामा थेगो–रहनी नझुन्डिएको रैथाने गीतै पाइँदैन ।
अठारसय खोला भेगमा ‘झाम्रेकी’ भाका प्रचलित रहेको पाइन्छ । यस गीतअन्तर्गत सालाङमा प्रदर्शन गरिने विशेष नृत्य, ‘तुङ्सा’ हो । एउटा चरा विशेषको नृत्य नक्कल । चराले जसरी उड्दै आकाशमा नाच्छ, त्यस्तै सिको गर्दै कृषिनृत्य देखाइन्छ । मादलको पनि विशेष भूमिका रहन्छ । 

Page 23
कोसेली

गीत खाने, गीतै लाउने

मगरको रैथाने गीत जोंमारे पनि हो । फागुन महिनाका रात रोल्पा जोंमारेमय हुन्छ । भाबाङलगायत केही गाउँमा हिउपी गाउने चलन थियो, जुन अहिले लोपप्रायः छ ।
- नवीन विभास

रोल्पा भाबाङ, बुढागाउँ क्षेत्रमा मात्रै चल्तीमा रहेको मगर लोपोन्मुख लोकगीत हिउपी र नाच । मगर परम्परागत पहिरन पहिर्‍याएको डोकोभित्र महिला पसी गीतको तालमा हिउपी नाच्ने चलन छ । 

‘कोक्करे को कोलोलो ऽऽऽ !’
भाले बासेपछि जेई उठ्छिन् । चिचिले सनाई बजाउँदै जेईलाई पछ्याउँछु । पिठ्युँमा बोक्छिन् । चाखी नार्छिन् । चाँखी संगीतमा पिठो होइन, गीत पिँध्छिन् ।
चाँखी धुन गाँसिएको जेई गीत लोरी सुनेजसरी निदाउँछु ।
चाखी पिसिसक्दा चुङचुङ्ङे फ्वाजु आउँछन्, ‘अँ काइँली फुबू ! जाने होइन पानी भर्न ?’ लगत्तै सेला धमिनी फुबू, भालकुटेनी नाना पनि गाग्रो पिँधमा बचेको पानी र खोलामा पानी भर्ने नाल्चे रित्तो गाग्रोसँग ठोकिँदाको धुनसहित पुग्छन् ।
बर्कोलाई जेई मादलको बर्ता बनाउँछिन् । मलाई मादल । बर्को बर्ता गलामा भिर्छिन् ।
रित्तो गाग्रोमा बचेको पानी कोल्च्याङकोल्च्याङ र गाग्रोमा नाल्चे ठोकिँदाको कट्याङकुटुङ टाङटुङे तालमा पानी भर्ने झाँक्रीखोला पुग्छौँ । करिब आधा घण्टा तेर्पाएतेर्पाए बाटो भएर झाँक्रीखोला पुग्दा झुलामा झुलेजसरी निदाउँछु ।
पानी लिएर फर्केपछि खाजा भुट्छिन्, खोर्ल्याङखोर्ल्याङ सांगीतिक लयमा । भुटेको तीन–चार घान मकैमा एक घान भट्ट मिसाउँछिन् । गादामा खाजा राखेर कहिले सोत्तर लिन राङ्ङे बोक्छिन्, खर्सुको घाँस काट्न कहिले घुर्रे र बर्रे बोक्छिन् । कहिले कुख्रागर्खने लाग्छिन् । कहिले डल्लुगैरा ।
ती घना जंगलमा सुरु हुन्छ— दाउरा काटेको टाक्कटुक्क, घाँस काटेको सार्रसुर्र र सोत्तर सोरेको सारमसोरम सांगीतिक धुन । जेई गला कुनै बेला हलिसाले गाँस्छ त कुनै बेला जेई गलाले सिङरिना गला ।
साँझपख स्यान्गोरीबाट आउने बतासमा बतासिँदै बाबैले गुनगुनाउने ‘साइली जी’ सँगै निदाउँछु ।
मेरा ‘बच्पन’ दिन जेई र बाबैले गाएका गीतसँग चल्छ । मेरा ‘बाला’ रात जेई र बाबैले लाएका गीतसँगै ढल्छ ।
यो म सानो छँदाको कुरा हो ।


न्वारानमा सबभन्दा ज्येष्ठ आमा सामेल हुन्छिन् । ठूलो थालमा पस्केको भातमा पकाएको भालेको साप्रासम्मको खुट्टा उभ्याउँछन् । खुट्टा हातमा लिएर नङले ‘माया पात’ घरी दायाँ कानतिर त घरी बायाँ कानतिर लगेर कोर्दै गीतिलयमा बाँच्छन् । एकखाले गीतिलय ।
मगर बस्ती मेलापात गीत तालमै गर्छ । धानखेतमा गीत रोप्छ । चाँखी र घट्ट पिस्दा गीत गाउँछ । हाट जाँदा गाउँछ । ठकान बस्दा गीतमै माया लाउँछ । गीतमै घरबार जोड्छ ।
जन्म र बिहेमा मात्र होइन, मगर घाटयात्रा पनि गीतकै तालमा हुन्छ । जुन शोकगीत ‘सय साउन’ बराबर हुन्छ । लाग्छ, दुनियाँमा योभन्दा विरही गीत अरू सायदै होलान् ! सास फेर्न छाडेपछि घरमा र घाट लग्दा पनि गाउँछन् । ‘ठाट रुवाउने’ भन्दै मृतक सुतेको ठाउँमा साँझपख गाउँछन् ।
छिमेकी भेला हुन्छन्, रातमा । भन्छन्, ठाट सुत्ने ।

आजबट सेउरे(भूतजस्तो) भइस्, हुँ ऽऽऽ
सम्झेपानी गएस्, हुँ ऽऽऽ
सम्झेपानी खाएस्, हुँ ऽऽऽ
तेरो ज्हान परिवार सप्पैलई सम्झेस्, हुँ ऽऽऽ
बिर्सेपानी गएस्, हुँ ऽऽऽ
बिर्सेपानी खाएस्, हुँ ऽऽऽ
तेरो कुलकुलामी, जहान परिवार र इष्टमित्र सप्पैलई बिर्सेस्, हुँ ऽऽऽ ।

रोल्पा जंकोटकी ६५ वर्षीया खिमकुमारी पुनले सुनाएको यो शोकगीत गाउँमा सकिएका छन् । गाउने जति बाटो लागेपछि गाउँबाट गीतबिनै मगर घाट जान थालेका छन् ।
पैसरी नाच गुरु र अगुवालाई घाट लग्दा झ्याली, मादल, दौरी, झ्याली, पैजन धुन पनि मलामी थपिन्छन् ।
शोकगीतलाई रुकुम मैकोटतिर लाह्वैसिने, रोल्पा उवामा बाटो खुलाउने र मेरो गाउँ जैपामा अह्राउने भन्छन् भने पूर्वी रुकुमकै तकसेरातिर क्यारमा ।
अनुसन्धाता कृष्णप्रसाद पौड्यालका अनुसार अल्पसंख्यक आदिवासी बोटे मर्दा शोकगीत अनिवार्य छ । तर, नयाँ पुस्ताले सिकेको छैन ।
महाश्वेता देवीको कथावाल कल्पना लाज्मीले निर्देशन गरेको रुदाली फिल्मले घरानावाल मर्दा रुने रुदाली ‘हायर’ गर्ने संस्कृति नै देखाएको छ ।


पहिलो र दोस्रो विश्वयुद्धमा पनि मगर बस्ती युवाविहीन हुन्छ । राज्यको मूलधारबाट पाखा पार्न र आफ्नो सत्ता जोगाउन राणा सरकारले मगरलाई बेचेर ‘लाहुरे संस्कृति’ बसाल्छ । जुन संस्कृति आँधीले अहिलेसम्म पनि मगर बस्ती लम्पसार सुतेकै छ ।
लाहुरे संस्कृति नियतिले मगर गोर्खा राइफल्स, आसाम राइफल्स मात्र छैनन्, दलाई लामाको पनि सिपाही छन् । सिंगापुर पुलिस र बेलायती लाहुरे छन् । ब्रुनाईमा गार्ड छन् । राणा शासकले मगर बेचबिखन थालेपछि सुरु भएको लाहुरयात्रा ‘समाजवाद र समृद्धि’ वाल केपी ओली सरकारसम्म जारी छ ।
मगर रगत र पसिना बेलायती साम्राज्य फैलाउन र जोगाउन उत्तिकै बगेको छ । इराक, अफगानिस्तान भिजेको छ । कश्मीरमा भर्खरै गोर्खाका अर्जुन थापामगरले रगत बगाएका छन् ।
लाहुरिन बचेका मगर कालापार अर्थात् भारतमा ‘गोर्खे बाँदर’ छन् । कालापार तन्केर अहिले अरब र मलेसिया पुगेको छ ।
पृथ्वीनारायणले गोर्खा विस्तारमा जसरी माओवादी विस्तारमा पुष्पकमल दाहालले मगर रगत र पसिना ‘हदै’ प्रयोग गरेका छन् । ‘जनयुद्ध’ मा सहभागी, मारिने र अंगभंग मगर संख्या सबभन्दा बढी छ ।
भोट—बर्मेली परिवारको मगर भाषामा बाह्र मगराती भाषा (ढुँट), अठार मगराती भाषा (खाम/पाङ) र काइके भाषा गरी तीन भेद छन् । भाषा र संस्कृतिसँगसँगै जोडिएर हिँड्छन् भने संस्कृतिसँग गीत ।

बाह्र मगराती मगर म्युजिक
धनकुटासहित कोसी क्षेत्रका पूर्वी नेपालमा मौलिक मगर गीत र नाच छ । जसको नाउँ हो, हुर्रा । पूर्वबाट पश्चिम हान्निदै धादिङ, गोर्खा, लमजुङ, तनहुँ, स्याङ्जा आदि भेग पुगेपछि सुनिन्छ, सोरठी । गाइन्छ, ख्याली ।
नेपाल मगर सांस्कृतिक संघका संस्थापक अध्यक्ष खर्कबहादुर बुढामगरका अनुसार तनहुँको रिसिङघिरिङमा सिर्जेको मगर गीत नै कौडा हो । जुन गीत र नाच नेपालभित्र र बाहिर हुने सांस्कृतिक कार्यक्रममा सबभन्दा बढी प्रदर्शन हुन्छ ।
पाल्पा पुगे सुनिन्छ, सोरठी र ख्याली । गण्डक क्षेत्रका मगर समाजमा घाटु घन्किन्छ ।

अठार मगराती म्युजिक
मूलतः राप्ती क्षेत्रमा अठार मगराती भाषा खाम/पाङ बाहुल्य छ । बसाइँसराइले भने राप्तीको पश्चिम दाङ, भेरीको बाँके र सुर्खेतका केही स्थानमा बाह्र मगराती भाषा (ढुँट) पनि बोल्छन् ।
यी भेगमा सबभन्दा बढी पैसरी नाच र गीत चल्तीमा छ । खर्कका अनुसार पैसरीमा १० प्रतिशत गीत हुन्छ, बाँकी नाच । रापतीका रोल्पा, रुकुम, सल्यान, दाङलगायत सुर्खेत, जाजरकोटमा पनि पैसरी प्रचलित छ ।
प्यूठान र दाङमा सोरठी अन्य समुदायमा पनि सरेको छ ।
मगरको अर्को रैथाने गीत हो, जोंमारे । रोल्पाका फागुन महिनाका रात जोंमारेमय हुन्छ । रोल्पाको भाबाङलगायत केही गाउँमा हिउपी गाउँछन् । जुन अहिले लोपप्रायः छ ।
रोल्पा र रुकुमका मगर समाजमा भूमेमा गाउँछन् । नाच्छन् । जसलाई नोकोबाङे, बलपूजा पनि भन्छन् ।
रापती भेगका वनपाखामा साहिली जी, साइली बरै, लालै, स्यानीमाय, ठारी भाका, उत्रा, फाँक, ख्याली आदि गीत गुन्जिन्छन् ।
उत्रा डाँडावारिपारि हुँदा गाउने प्रश्नोत्तर गीत हो । सल्यानतिर ओठे जवाफ नामक गीत पनि गाउँछन् ।
अर्को मगर गीत हो, फाँक । कतिपय ठाउँमा पैसरी नाचेपछि फाँक गाउँछन् ।
बनगार क्षेत्रमा सिर्जित टप्पा पनि मगर गाउँछन् । नाच्छन् । रुकुम, सल्यान, दाङ, जाजरकोट, सुर्खेतमा प्रचलित सिङारु पनि मगर गाउँछन् । नाच्छन् ।
माओवादी ‘जनयुद्ध’ पछि पैसरी, सिङारु, सोरठी र सरङ्ङे महिला पनि नाच्न/गाउन थालेका छन् ।
म्याग्दी, बागलुङतिर गाउँछन्— सालैजो, यानीमाया, सुनीमाया, मारुनी, नचरी ।
खाम भेगमा मगर म्युजिक मात्र छ । गीत गेडा खस/नेपालीमा फल्छ । कसरी यस्तो भयो ? खोजको विषय छ ।

तराली मगर म्युजिक
कर्णाली डोल्पाका तराली मगरले रुङ पर्वमा गाउने गीत हो, बालु । पुस–माघमा झन्डै एक महिनामा आउने रुङमा बालु गाउँछन् । अनुसन्धाता जगबहादुर बुढामगरका अनुसार घाम अस्ताएपछि गाउँको चौरमा बसेर बालु गाउँछन् ।


राजा महेन्द्र उदाएपछि सुरु हुन्छ, नेपाली ‘सुगम’ संगीत । सरकारी मलजल पनि थपिएपछि हलक्क हल्कन्छ । रेडियो नेपाल र नेपाल टेलिभिजनले टेको लाउँदै ‘सुगम’ भनिने आधुनिक गीतले सहर कब्जा गर्छ ।
अरुण थापाको गलाबाट उही सुगम संगीत सुसेलिन्छ । विश्वव्यापी बीबीसी सर्भेमा सातौँ नम्बरमा पर्छ, ‘ऋतुहरूमा तिमी ...।’
‘लाउरेको रेलीमाइ फेसनै राम्रो ...’ वाल मास्टर मित्रसेन थापाको गीत, संगीत र गलाले रेडियोमा घन्केपछि संगीत साथ दिन राम थापा आउँछन् । थापालाई पछ्याउँछन्, राजकुमार बगर, कुमार थापाहरूले ।
लोकगीतमा मित्रसेन पछ्याउँदै धनकुमारी थापा, तारा थापा, कविता आलेहरू आउँछन् । खर्कबहादुर तथा लीलावती बुढामगर, खड्ग गर्बुजामगर, शिवा आले, कृष्ण थापा, कृष्ण
पुनहरू थपिन्छन् ।
मित्रसेन गला गाँस्न अरुण थापा पुग्छन् । तारा थापा, जगदीश समाल, त्रिलोक राना, वेदु सारु, हेमन्त राना, गीता थापा, रवि थापाहरू थपिन्छन् ।
मित्रसेन गीत लेखनमा शिवशंकर थापा आउँछन् । थापापछि सुरेन्द्र राना, बुँद राना, राजेन्द्र सारा, करुण थापा, भावेश भुमरी, वसन्त वित्यासी थापा, टीकाराम उदासीहरू देखापर्छन् ।
यसरी लोक र ‘सुगम’ वाल मगर ‘पल्टन’ खडा हुन्छ । खस/नेपाली भाषामा साधनारत संगीतसाधकबाहेक मातृभाषा ढुँट र खाम/पाङ भाषामै लेख्ने, संगीत हाल्ने र गाउने मगर पनि छन् ।
‘लालगला’ वाल अर्को पल्टन खडा हुन्छ । जसमा छन्, पूर्ण घर्तीमगर, चिरन पुन, नीलिमा पुन, मालबहादुर बुढामगर ‘महेश आरोही’, डम्बर बुढा ‘विप्लव’, कुलमान बुढामगर, झन्कार बुढामगरहरूको प्लाटुन । ‘जनयुद्ध’ कालीन मगर सांस्कृतिक प्लाटुनले त मगर भाषामै गीत पार्छ । गाउँछ । नाच्छ ।
देशभित्र वा बाहिर हुने महोत्सवमा कौडा हुन्छ नै । माओवादी सांस्कृतिक कार्यक्रममा पनि सायदै छुटेको थियो कौडा ।


गाउँदागाउँदै मगर पिरती गाँस्छन् । गाएरै घरबार जोड्छन् । गीतमै सवालजवाफ गर्छन् । गर्छन्, तर्कविर्तक । सायद यसैले त छैनन्, मगर गीत ‘स्लो मोसन’ का ?
‘रसैसँग बस्ने रसैसँग गाउने हो । यसरी गलाको कला देखाउने हो,’ लोकगायक खर्कबहादुर बुढामगर भन्छन्, ‘क्लासिकलमा विलम्बित लय भन्छ । विलम्बित गतिमा कलात्मक संगीत खुबी भएकाले गाउँछन् । खास कला त्यस बेला देखिन्छ ।’
गीतमा तर्क हुन्छ । प्रश्न हुन्छ । जवाफ दिन समय चाहिन्छ ।
‘जवाफी फायर गर्न समय त चाहियो नि,’ खर्क तर्क छ ।
स्लो मोसनको हुनु मगर ‘नेचर’ सँग पनि जोड्न सकिन्छ । ‘रसीबसी मेलैसित काम गर्ने’ र ‘पक्का’ काम गर्ने मगर नेचर हो ।
रोल्पातिर गाइने ‘स्यानीमाय’ बाहेक सायद सबै मगर गीत ‘स्लो मोसन’ का छन् ।
लेखक हेमन्त विवश सुनाउँछन्, ‘आदिवासी जनजातिका गीत मात्र होइन, कर्णाली र सुदूरपश्चिमका खसआर्यन देउडा र अन्य गीत पनि ‘स्लो मोसन’ कै छन् ।’


भन्छन्, गीतको जन्म नै श्रमबाट भएको हो । र, पहिलो गीति सर्जक सर्जक मजदुर हुन् । सायद यसैले होला, श्रमप्रेमी आदिवासी मगर नसानसामै रगतको मारीखोला बग्छ । मगर जीवन गीतले थालेको देखिन्छ भने गीतैले बिट मारेको । मगरको आफ्नो भन्नु यही म्युजिक न छ । मगर रगत, पसिना र बलिदान त स्वदेशी/विदेशी शासक नाममा नामसारी छ । स्वदेशी विद्रोही अर्थात् माओवादी नाममा पनि ।
आक्कझुक्कल ‘नेपथ्य’ ले आदिवासी म्युजिकमा ‘बजार’ बालेर बजार निस्कन्छ ।
शासक संस्कृतिसँग सांस्कृतिक भूमण्डलीकरण ‘खपुटा’ भएपछि आदिवासी मगर म्युजिकको के कुरा ! बनसाङ्लाले घरसाङ्ला खेदेजसरी रैथाने गीतसंगीत अर्थात् नेपाली सुगन्ध बोकेका गीत वनपाखामै बिलाएका छन् । शासक खलकीय बाहुन बालन, रोइला या चुड्का भजन, संगिनीले पनि ‘हावा’ खाएको बेला कर्णाली र सुदूरपश्चिमका देउडा र रैथाने आदिवासी गीत ‘हवा’ का के हब्बा !
गीतै खाने गीतै लाउने मगर, गीत गलाबाट नै सास फेर्ने आदिवासी मगर गीत नभए कसरी बाँच्लान् ? आफ्नो भन्नु मगर म्युजिक पनि नरहे मगरको के हाल होला ? कस्तो होला, म्युजिकबिनाको
मगर ? म्युजिकबिना पनि मगर मगर नै रहला त ?
@NabinBibhas

कोसेली

‘माइतीघरमा के छ र मेरो !’

रत्यौलीमा विशेषगरी बुहारी घर आएपछि छोराले आमालाई र बुहारीले सासूलाई गर्ने व्यवहार गाइन्छ । गीत सकिएपछि प्रहसनको पालो आउँछ ।
- नारायणी देवकोटा

विवाहको दिन बेहुला अन्माएपछि बेहुलाको घरमा महिलाहरूले गर्ने रमाइलो (त्यो पनि विशेषगरी पुरुषहरूका लुगा लगाएर यौन–सम्बन्धका विषयमा व्यक्त गरिने प्रहसन) लाई रत्यौली भनी बुझ्ने गरिएको पाइन्छ । त्यसैले पनि मान्छे (पुरुष) हरूले रत्यौलीका गीत भन्नेबित्तिकै महिला–पुरुषका यौनजन्य क्रियाकलापसँग सम्बन्धित गीत भनेर व्याख्या गरिरहेको भेटिन्छ । त्यसैले होला, सञ्चारमाध्यममा लोकगीतका कार्यक्रम सञ्चालन गर्ने पुरुष सञ्चालकले बेलाबेला लोकगीत संकलकलाई ‘रत्यौलीका जस्ता गीत’ संकलन गरेको टिप्पणी पनि गरिरहन्छन् । तर, साँच्चिकै रत्यौलीमा के–कस्ता गीत गाइन्छन् भन्ने धेरै पुरुष (जन्ती जान छुटेका केही पुरुषहरू अल्लि परबाट लुकेर हेर्ने वा किशोरहरू आमाको पछ्यौरा ओढेर सुन्ने चलन हुन्थ्यो) का लागि स्मार्ट फोन हात–हातमा आउनुअघिसम्म जानकारीबाहिरको कुरा थियो ।
त्यसअघिसम्म धेरै पुरुषको जानकारीमा आफ्ना लुगा कुनै महिलाले लगाएर नाचेकोसम्म रहन्थ्यो । किनभने ती लुगा राखिएको ठाउँमा नहुन सक्थे, कहिलेकाहीँ महिलाले जुँगा बनाउँदा प्रयोग गरेको कालो रङको दाग लुगामा लागेको हुन सक्थ्यो वा ठूलो शरीर भएका महिलाले लगाउँदा लुगा च्यातिएको हुन सक्थ्यो वा बेलुका श्रीमतीले ‘फलानीले त... गरेर नाची नि’ भनेर सुनाएको कुरा मात्रै पुरुषलाई जानकारी रहन्थ्यो । तर, रत्यौलीमा महिलाले गाइरहने आमा हुनुका दुःख, आफूबाट टाढाटाढा हुँदै गरेका छोराप्रति आमाका भावना, महिला हुनुकै दुःख, अर्काको घरमा गएकी बुहारीको भावना, बुहारीलाई फकाउने र सम्झाउने गीतहरू पुरुषको जानकारीबाट सधैं
टाढा रहे ।
प्रायः घरका रत्यौलीमा सुरुमै प्रहसन हुँदैन । बेहुलालाई आमाले दूध खुवाएर अन्माएपछि महिलाहरू गीत गाउन बस्ने चलन हुन्छ । सुरुका केही गीत प्रायः सोही दिन बेहुलो भएको छोरा जन्माउँदा–हुर्काउँदा आमाले भोगेका दुःखसँग सम्बन्धित गेडाहरूले भरिएका हुन्छन् । ती गीत गाउन प्रायः वृद्ध महिलाले सुरु गर्छन् भने कतै बेहुला भएको युवाका दिदी–बहिनीले घरमा भाउजू भित्रिने खुसियालीमा गीत गाउँछन् । यसरी गाइने गीतमा वृद्धाहरूको भाका प्रायः यस्तो हुन्छ :
‘गयौ बाबु फूलमाला भिरेर दूधको भारा सारी (साडी) ले तिरेर’ यसरी गीत गाउन थाल्दा कतिपय आमा र धाईआमा (बच्चा जन्मने क्रममा सहयोग गरेकी महिला, सुँडेनी वा परिवारकै) ले भर्खरै बेहुलाले ढोग गरेर दिएको साडी घरभित्र लगेका पनि हुँदैनन् । उक्त भाकामा विभिन्न गेडा (टुक्का) हरू बनाएर गाइन्छ । उदाहरणका लागि बेहुलाकी आमाले कैयौं तीर्थ, व्रत, रुद्री, पुराण लगाएपछि वा धेरै बच्चा जन्मँदै–मर्दै गरेपछि वा छोरी–छोरीपछि वा सौतेनी ग्रह काटेपछि बेहुलो भएको पुरुष जन्मिएको, विभिन्न प्रकारका बिरामी वा दुर्घटनामा बाँचेको बारेमा गीतको गेडा निकाल्ने महिलालाई थाहा हुन्छ । युवा महिलाले खुसी भएर गाउने भाका यस्तो हुन्छ :
‘अब त बुहारी आउँछिन्
आमालाई बोकेर डुलाउँछिन्...’
‘आज त नाचौली गाउली, दाजु टाढा हुँदा पो चाल पाउली’ भन्दै अर्की महिलाले दोहोरो भाका निकाल्न सक्छन् । यसरी गाइने दोहोरीमा पहिलोले आउँदै गरेकी बेहुलीको गुनगान गर्छन् । उदाहरणका लागि यस्तो गेडा धेरैतिर गाउने चलन छ :

‘हाम्री भाउजू हिँडेको ठाउँमा
बत्ती बाल्नै पर्दैन त्यो गाउँमा’
गाउन सुरु गरेका महिला बिस्तारै उठ्दै गएपछि वृद्ध महिलाले सुस्तरी भाका निकालेर गाउन थाल्छन् । भाका यस्तो हुन्छ :
घुम्दै आयो सासूको पालो
सबैभन्दा यही रैछ अप्ठेरो
यसै त नुगेको डाली
झन् नुग्यो चरीले टेकेर

भन्छु मैले अब त रुन्न
आँसुधारा बगेको थाहा हुन्न
जहाँ टेक्यो उहीँ पैरो जाने
को छ मेरो कटक्कै मन खाने

छोरो गयो बुहारी लिन अब
मलाई दुःख पर्दै छ दिनदिन
रुन्छ मन झ्याल–ढोका उघारी
कुरा लाउँछे छोरालाई बुहारी

बाबु तिमीले ल्याएको झोला मैले खोल्न होला कि नहोला ?
यस्ता गेडामा विशेषगरी बुहारी घर आएपछि छोराले आमालाई र बुहारीले सासूलाई गर्ने व्यवहारलाई गाइन्छ । गीत सकिएपछि प्रहसनको पालो आउँछ । पहाडका गाउँमा यसरी प्रहसन गर्नुअघि प्रहसन गर्ने महिलाले गाउँमा को–को पुरुष छन् भन्ने अड्कल काट्छन् । र, कुनै अग्लो ठाउँमा गएर ‘तिम्रो बारीमा गाई वा भैंसी पस्यो’ भन्ने जानकारी दिन्छन् । जानकारी दिइएको बारी वा खेत घरबाट कम्तीमा आउँदा–जाँदा टाढा पर्ने रोजिन्छ । यसो गर्नुको उद्देश्य हुन्छ— गाउँमा भएको पुरुषले आफूले गरेको प्रहसन नहेरोस् । प्रहसनमा यौनजन्य क्रियाकलापमा आधारित भएर नाटक गरिन्छ, छाडा भनिने शब्द जोडेर गेडा गाइन्छ र मुख्य प्रहसन गर्ने महिलाले पुरुषका लुगा लगाएर आफूलाई पुरुषजस्तो देखाउने कोसिस गर्छन् ।
प्रहसनपछाडिका भाकाहरू सासू र बुहारी दुवैलाई सम्झाउने गरी गाइन्छन् । र, गाउने महिला पनि घर–परिवारभन्दा अल्लि परका आमा समूहका सदस्य पनि हुने गर्छन्, जसमा राम्रा भाका गाएर पैसा झार्ने उद्देश्य हुन्छ ।

यही हो नानी जुग जाने घर
राम्रो गर सबैको मन पर
माईतीगाउँ कहिलेकाहीँ जाउली
कर्मगाउँ देखेर रमाउली

बुहारी नझार आँसु
आमालाई बिर्साउनेछन् सासू
बाबाको तीनतले घर
छोरीलाई के काम लाउँछ र ?

माइतीघरमा के छ र मेरो
खाइयो पानी छोडियो पँधेरो
बसे छोरी बाउको नाम धानेर
रूखो वचन अमृतै मानेर
यस्तो गाएर बुहारीलाई सम्झाउने कोसिस गरिन्छ भने सासूसाई सम्झाउन यस्तो गाइन्छ ः

छोरीलाई झैं गर्नू है पियार
वृद्ध हुँदा गर्छिन् सियार
धानमा लाउने पुतली मकैमा घुन
कहिल्यै पनि नपार्नू यो छोरीलाई रुन

सानो स्वरले बोले है जहिले नि
चर्को आवाज नगरे कहिल्यै नि
जस्ता गेडा निकालेर गाउने गरिन्छ ।

रत्यौलीका दुई पाटा हुन्छन्— दुःख, सुख, गुनासोका गीत र यौनिक क्रियाकलापलाई लिएर गरिने प्रहसन । गीत गाउने मान्छेबीच चिनजान मात्रै हुँदैन, उनीहरूका दुःख–सुखका पक्ष पनि एकअर्कालाई थाहा हुन्छ । रत्यौलीमा तत्कालै गीत बनाएर गाउने गरिएजस्तो देखिए पनि ती गीतले हाम्रो श्रुति–परम्परा लामो समयदेखि हाम्रो समाजमा विद्यमान थियो भन्ने देखाउँछ ।

Page 24
कोसेली

भाका सधैं परिवर्तनशील

राज्यले लोक–साहित्यलाई संरक्षण र प्रवर्द्धन गरेन । सधैं बेवास्ता ग‍र्‍यो । संगीतकै खातिर जुनी अर्पण गर्ने गन्धर्व, कुश्लेलाई छुवाछूत ग‍र्‍यो । परेको बखत बिसे नगर्चीदेखि रुविन गन्धर्वसम्मलाई उपयोग गर्‍यो ।
- आभास

संगीत छुट्टै भाषा हो । यो आफ्नै पद्धतिबाट सञ्चालित हुँदै आएको छ । त्यसैले संगीतको चर्चा गर्दा यसको वैज्ञानिकतालाई मध्यविन्दुमा राख्नुपर्ने हुन्छ । यो गणित पनि हो र यसका तरंगहरू आफ्नै हिसाबले सञ्चालित भएका हुन्छन् । साथसाथै संगीत मानव सभ्यताको यस्तो अद्भुत जीवित कला हो, जो भावनासँग जोडिएर बाँच्दै आएको छ । ध्वनिको उत्पत्तिदेखि अहिलेको परिष्कृत सुरसम्म आइपुग्न यसका मूर्च्छनाले अकल्पनीय लामो यात्रा तय गरेका छन् । त्यसमा विश्वभरकै लोकसभ्यताको योगदान छ । विश्व लोकसभ्यताका हामी पनि सहयात्री हौं ।
विश्वमा संगीतका विविध पक्षमाथि अनेकौं अनुसन्धान र विश्लेषण भएका छन् । चर्चा–परिचर्चा भएका छन् । वादविवाद भएका छन् । तर, नेपालका हामी मौनतामा अल्झन विवश पुस्ता हौं । विगतका राज्यले हामीलाई मौन राख्ने अभ्यास गरे । त्यसैले होला हाम्रो समाज केही हदसम्म खुला भएपछि अहिलेका हामी विचार, विमर्श र संवाद गर्दा अलिक चर्को पनि हुने गर्छौं । पश्चिमी संगीत क्षेत्रका सर्जकले यस्तैखाले चर्का मनवीय स्वभावलाई समेत समेटेर अनेक विधा निर्माण गरेका छन् । ‘हेब्बी मेटल’, ‘डेथमेटल’ लाई त्यस्ता उदाहरणका रूपमा लिन सकिन्छ ।
यसपालि हामी बाहिरी संसारबाट भित्रिएका अरू खाले संगीतको चर्चा गर्दै छैनौं । बरु आफ्नै भूगोल र लोकजीवनका भाका–भंगिमाको चर्चा गर्दैछौं । यसअन्तर्गत ‘कोसेली’ ले रैथाने संगीतमाथि विविध विधाका मूर्धन्य व्यक्तित्वका विचार–विश्लेषण समेट्ने जमर्को गरेको छ । संगीतमा यस्तो विमर्शको चर्चा निरन्तर खट्किँदै आएको विषय हो ।
म संगीतको सामान्य विद्यार्थी हुँ । संगीतबारे विमर्श गर्नु उति सहज विषय होइन । खासमा संगीतको चर्चा गर्दा हामी प्रायः भाषाको फेरो मात्रै समात्छौं । भाषा महत्त्वपूर्ण हुँदाहुँदै पनि कहिलेकाहीं भाषालाई अलग्याएर धुनको मात्र विश्लेषण गर्ने परिपाटी पनि आरम्भ गर्नुपर्छ । त्यसले हामीलाई मौलिकताको परिचय आर्जन गर्नतिर आकर्षित गर्छ । कविता वा भाषाबिना उभिएको धुनको स्वभाव मौलिकताको पहिलो अंग हो । धुनको त्यही मौलिकताभित्र लोकजीवन, तिनको सांकृतिक परम्परा लुकेको हुन्छ । कण्ठशिल्पको अलंकार र स्वभाव झल्केको हुन्छ । त्यसमै बाजाको बनोट समेटिएको हुन्छ । बाजाले अंगीकार गरेको भूगोल पनि हुन्छ । वनस्पति हुन्छ । लोकजीवन हुन्छ र ती सबैको मन्थनबीच लोकसंगीत अथवा ‘एथ्नोम्युजिक’ टिकेको हुन्छ ।
विश्वभरको लोकसंगीतमा केही समानता छन् । यी प्रायः पाँचवटा अथवा ‘पेन्टाटोनिक’ सुरमा बाँधिएका हुन्छन् र पनि भिन्दै सुनिन्छन् । यही भिन्नता नै लोकसंगीतको विशेषता हो । त्यसैले संसारभरका लोकसंगीत विश्व मानवजगत्का विशेष सम्पदा हुन् । त्यति हुँदाहुँदै यी आ–आफ्ना पहिचानका निम्ति आ–आफैँले जोगाउनुपर्ने विषय पनि हुन् । हाम्रोमा आजसम्म जे–जति लोकपरम्परा बाँचेका छ, त्यो राज्यको कारण होइन । लोकजगत्को आफ्नै प्रयत्नले बाँचेको हो । आफ्नै प्रयत्नले आफ्ना संगीत र संस्कृति जोगाउनुपर्छ भनिरहँदा मलाई दुई दशक पहिलेको एउटा सांगीतिक भ्रमणको सम्झना आयो ।
सन् २००० को सेप्टेम्बरमा एउटा सांगीतिक परिचर्चामा सम्मिलित हुन म डेनमार्क पुगेको थिएँ । त्यहाँ युरोप, एसिया, अफ्रिकाका हामी केही संगीतकर्मीको जमघट भएको थियो, जसमा इरानका डाफवादक संगीतकार पनि थिए । हामी एकअर्काका देशका परम्परागत र लोकसंगीत सुन्दै तिनको स्वरूपमाथि चर्चा गरिरहेका थियौं । इरानको संगीत सुनेपछि मैले इरानी संगीतकार मित्रतिर फर्कंदै सोधेँ, ‘मिस्टर अली ! तिम्रो देशको संगीत अरू संगीतभन्दा किन यसरी एकदमै पृथक् सुनियो ?’ उनी मेरै उमेरका थिए । तर, युद्धको भुमरीले मभन्दा निकै पाका देखिन्थे । अलीले मतिर हेर्दै मेरो जिज्ञासा सम्बोधन गरे, ‘मिस्टर आभास ! सत्ताको दबाब र युद्धको चपेटामा धेरै कुरा छरपस्ट हुँदा रहेछन् । तर, त्यसभित्र लुकेका केही राम्रा कुरालाई समयले फेरि बाहिरी धरातलमा ल्याउने दिन पनि आउने रहेछ । हाम्रो देशको राज्य र त्यसको कट्टरताले एक दशकभन्दा बढी अवधि संगीतमाथि प्रतिबन्ध लगायो । धुन सुन्न र सुनाउन नपाइने भयो । सांगीतिक संसारबाट बिल्कुल अलग रहन विवश कलाकारहरूको जुनुनले भने अर्कै बाटो लियो । उनीहरू भूमिगत रूपमा अति गोप्य तरिकाले आफ्नो सांगीतिक साधनामा दिन–रात लागिरहे । जब संगीतमाथिको प्रतिबन्ध फुकुवा भयो तिनै भूमिगत, सयौं संगीत साधकहरू आफ्नो सांगीतिक सीप र क्षमता लिएर बाहिर निस्के । हाम्रो संगीत विशेष, मौलिक अथवा पृथक् सुनिनुमा त्यही एक दशक लामो प्रतिबन्धको केही योगदान छ ।’ गलामा माला भिरिरहेका सुफी साधक अलीको कुरा सुनेर म छक्कै परेको थिएँ ।
युद्धको कारण परिवार र देश छोडेर युरोपमा एक्लै बसेका, गाँजाका सोखिन सेवक अलीको सम्यक् भावले मलाई गहिरोसँग गाँजेको थियो । कस्तो अचम्म, प्रतिबन्धले पनि परिष्कृत हुने मौका दिँदो रहेछ ! तर, यसका निम्ति कलाप्रतिको मोह र जुनुन भने कायम हुनुपर्ने रहेछ ।
यता हाम्रोमा राज्यले लोक–साहित्यलाई संरक्षण र प्रवर्द्धन गरेन । सधैं बेवास्ता ग‍र्‍यो । संगीतकै खातिर जुनी अर्पने गन्धर्व, कुश्ले आदिलाई छुवाछूत ग‍र्‍यो । परेको बखत बिसे नगर्चीदेखि रुविन गन्धर्वसम्मलाई उपयोग गर्‍यो । तर, यति हँदाहुँदै पनि हाम्रोमा राज्यले लोकसंगीत र भाकालाई सुन्न–सुनाउनै नपाउने गरी प्रतिबन्धित ग‍र्‍यो भन्ने ठाउँ छैन ।
विगतको सत्ताले एउटा भाषा र एउटै संस्कृतिलाई प्रवर्द्धन गर्‍यो भन्ने विद्वान्हरूको मतसँग मेरो विमति छैन । त्यही भएर त हाम्रो पुस्ताले भेदभावी सत्तालाई सिंहासनबाट उतारेर पाखा लगायो । अब तिनलाई सरापेर बस्नु मात्रै हाम्रो काम होइन । इतिहास पढ्ने–बुझ्ने हो । त्यसको परिणामले ल्याएको अवस्थाबाट सिक्ने पनि हो । हामीले गलत पढेका रहेछौं भने विषयगत विद्वान्को ज्ञानको शरणमा जाने हो । पढेका सबै कुरा निमेषभरमै मेटिन्नन् । मेट्नु पनि हुन्न । पृथ्वीनारायणको दिव्य–उपदेश पढ्न उपलब्ध भयो । पढियो, ‘आफ्ना स्वष–सयेललाई ता सास्त्रबमोजिम्‍को तिनै सहर नेपालको नेवारहरूको नाच झिकाइ हे‍र्या पनि हुन्छ । ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ । यस्व भया आफ्नु देस गमन रहन्छ ।’ (दिव्य–उपदेश तृतीय संस्करण पृष्ठ ६१, सम्पादक ः बाबुराम आचार्य र योगी नरहरिनाथ)
अहिले विद्वान्हरू दिव्य–उपदेशको मूल ग्रन्थकै प्रामाणिकतामाथि बहस गरिरहेका छन् । यस्तो बेला पढेका कुरा यसरी उल्लेख गर्नु पनि ‘पोलिटिकल्ली इन्करेक्ट’ हुने हो कि भन्ने डर छ । किनभने इतिहास आफ्नो विषय होइन । ठोकुवा गर्न सकिने कुरै भएन । तर यो के हो कसको भन्ने परिधिबाट पन्छिएर सोच्ने हो भने पनि त्यसबेलाको दरबारिया परिवेशमा नेवारी संस्कृति र कलाकारिताको महत्त्वबारे चर्चा भएको त पक्कै रहेछ भन्ने अनुमान लगाउन सकिन्छ । दिव्य–उपदेशको उपरोक्त भनाइले राजनीतिमा संगीत र संस्कृतिको भूमिकालाई प्रस्ट्याउँछ । तर, पृथ्वीनारायण शाहपछिका तिनका सन्तान तथा राणाले त्यो महत्त्वलाई ध्यान दिएनन् । तिनले हाम्रा भित्री सांगीतिक परम्परालाई कम र दरबारी तामझामलाई प्राथमिकतामा राखे । त्यसको चपेटामा हाम्रा अनेकौं ऐतिहासिक र परम्परागत कला च्यापिए र टाक्सिए । कति त लोप नै भए । कलात्मक समाजले राज्यलाई सम्पन्न बनाउँछ भन्ने सत्य अनुभूत नहुँदा हामीले धेरै पक्ष गुमायौं । हुन त दरबारिया संगीत र जनसंगीतको आधार फरक नै हो, हुन्छ नै । अहिलेको युग विगतको जस्तो प्रविधिविहीन अवस्थामा छैन । अब त संगीतको प्रचारक कलाकार मात्र होइन, प्रविधि पनि भएको छ । यसको क्षेत्र पनि विशाल रूपमा फैलिएको छ । हिजो घर–आँगनमा आएका गन्धर्वले आफ्नै वरपरका कर्खा र घटना सुनाउँथे । अहिलेको हाम्रो सामाजिक चरित्रमा ठूलो अन्तर आइसकेको छ ।
विविध समाज सम्मिलित राष्ट्रलाई बलियो सूत्रमा बाँध्ने डोरी मौलिक कला हो । त्यसमा पनि संगीत–कला अझै महत्त्वपूर्ण मानिन्छ । कलामा वैयक्तिक भावनासँगै सामूहिक भावना पनि उपस्थित हुन्छ । कुनै जातिको परम्परागत सांस्कृतिक वा सांगीतिक पर्वलाई अर्को जातिले सामान्य रमिता अथवा जात्रा मात्रै ठान्न सक्छ । तर, सम्बन्धित जातिका निम्ति आफ्ना परम्परागत चालचलनहरू रमिता मात्रै हुँदैनन् । ती चालचलन त निश्चित समुदाय या समाजको भावनात्मक विषयसँग जोडिएका विषय हुन् । अभौतिकभाव शृंखला हो । आफ्नो पहिचानको जरो पनि हो । भावनासँग जोडिएको यो महत्त्वपूर्ण पक्षलाई राज्यले झन् संवेदनशील भएर हेर्नुपर्थ्यो । विगतमा त्यसरी हेरिएन । त्यसको परिणाम हाम्रा समाजहरूको अन्तरसम्बन्ध बलिया डोरीमा बाँधिएनन् । हाम्रा सामाजिक पोयाहरू खुकुला भए र नेपाल भावनात्मक रूपमा कसिलो हुनै सकेन । खुकुलो बार भएको बारीको बाली सुरक्षित राख्न सजिलो हुँदैनथ्यो, भएन । बाहिरी, भित्री अनेक खेलाडीहरूलाई हाम्रो कमजोर खलियान नै क्रीडास्थल भयो ।
गणतन्त्रसम्म आइपुग्दासमेत विगतका सत्ताहरूको उस्तै स्वभाव वर्तमान सत्तामा सरेझैँ देखिन्छ । भन्नलाई वर्तमान सत्ताले आफूलाई प्रगतिशील सोचको संवाहक हुँ भन्छ । तर, संस्कृतिलाई हेर्ने सोचमा यो सत्ताले पनि प्रगतिशीलता अपनाएको देखिन्न । पुराना सबै कुरा भताभुंग गर्नु नै क्रान्तिकारिता हो भन्ने सोच पनि प्रगतिशील होइन । यस्तो सोचले राष्ट्रको भवनालाई जोड्ने होइन, तोड्ने काम गर्छ । हामीले विगतका सत्ता र तिनको चरित्रले गर्दा हाम्रो लोकसंगीत उँभो लागेन भनेर रोइलो मात्रै गरेर हुन्न, आत्ममूल्यांकन गर्नुपर्छ । यसो लेखिरहँदा मलाई फेरि अर्को एउटा यात्राको सम्झना आयो ।
माओवादी विद्रोहताका लमजुङतिर यात्रा गर्ने संजोग जुरेको थियो, गुरुङहरूको घाटुमाथि अध्ययन गर्ने चाहनाले । माओवादी विद्रोहअघि प्रायः गुरुङ र मगर गाउँहरूमा घाटु–नाच निरन्तर चल्दै आएको थियो । नेपालका कम्युनिस्टले सबै पुराना र परम्परागत चालचलनलाई सामन्तवादको अवशेष ठान्न थालेको उहिलेदेखि छँदै थियो । माओवादी त झन् ठूलो क्रान्तिमा उत्रेको थियो । उसको दबाबले धेरै गाउँमा घाटु बन्द गरिए । यसरी घाटु रोकिँदा गुरुङ–मगर समाजको लोकपरम्परा र संगीत प्रभावित भयो कि भएन ? उनीहरूले लामो समयदेखि सञ्चालन गर्दै आएको परम्परा ठप्प हुँदा तिनको भावनात्मक पक्ष सबल भयो कि कमजोर ? यसरी भावनात्मक रूपले कमजोर समाज विद्रोहका निम्ति सधैं अनुकूल हुन्छ । झन् तिनमा आर्थिक–सामाजिक असमानताले निरन्तरता पाएपछि समाज हरदम विद्रोह–उन्मुख भइरहन्छ । हुन त सामाजिक विद्रोह समाज विकासक्रमको वैज्ञानिक प्रक्रिया हो । तर, हरेक विद्रोहपछि समाजको अवस्था पहिलेभन्दा उन्नत हुनुपर्छ, न कि खस्केको !

म काठमाडौं उपत्यकाकै बासिन्दा हुँ, साथै नेवारी खानपान र संगीतको अनुरागी पनि । किशोर छँदा काठमाडौंका चोक–चोकमा रहेका अनेकौं पाटी–पौवामा दाफा भजन र गीत सुनेर हुर्केको हुँ । त्यस बेला र अहिलेको परिवेशमा आकाश–पातालको भिन्नता आइसक्यो । अब त्यो सांगीतिक माहोल फेरि फर्कन्छ भन्ने पनि लाग्दैन । किनभने समय र जीवनशैलीको उतार–चढावमा धेरै कुरामा बदलाव आउँछन् । संगीत पनि सधैँ उही रूपमा रहिरहँदैन । किनभने भाका स्थिर हुन्न, बरु परिवर्तनशील हुन्छ । पहिले श्रुति परम्परामा टिक्दै आएको लोक र परम्परागत संगीतको बाहुल्य रह्यो । त्यसपछि व्याकरण आयो, शास्त्रीय संगीतमा ध्रुपद, धमार, खयाल, गजल आयो । त्यसले पनि पुगेन, फरकपनको खोजी भयो र आधुनिक संगीत आयो । फिल्मी संगीत आयो । तिनमा शास्त्रिय र पश्चिमासँगै लोकसंगीतको प्रभाव पनि प्रचुर छ ! नेपालका अधिकांश आधुनिक संगीतकारहरू लोकसंगीतसँग कुनै न कुनै रूपमा प्रभावित भएकै छन् । तिनको प्रभाव बुझ्न हामीले धुनको प्रकृति केलाउन सक्ने हुनु जरुरी छ । लोकसंगीत भन्नासाथ सबै अद्भुत हुन्छन्, महान् हुन्छन् भन्ने पनि होइन । तिनको पनि सिर्जनात्मक स्तर त हुन्छ नै । लोकसंगीत सामूहिक सिर्जनाको प्रतिफल हो । तर, कहिलेकाहीं लोकको नाममा व्यक्ति हावी भएको हुन सक्छ । त्यस्तो बेला व्यक्तिले आफ्नो स्तर त देखाउँछ नै । रेडियो नेपालको जमानामा भाका चैँ लोकको र शब्द व्यक्तिको राखेर लोकगीत भनी प्रसारण भएका हल्का गीतबाट हामी झुक्किएका पनि छौं । लोकसंगीत साँच्चै लोकले रचेको हो कि होइन ? त्यतातिर हामीले त्यति ध्यान दिएका छैनौं । ध्यान दिन थाल्यौं, विश्लेषण गर्न थाल्यौं भने लोकगीत र कोठे लोकगीतको भिन्नता सजिलै छुट्याउन सक्छौं ।
यो प्रविधिको सञ्जालमा जेलिएको संसार हो । संसारभरको संगीत विभिन्न प्रविधिमार्फत प्रसारित भई नै रहेको छ । यो श्रुति परम्परामै टिक्ने कला हो । त्यसैले यो वरपरको परिवेशबाट प्रभावित भइरहन्छ । हाम्रो संगीत भारतको जस्तो सुनिन्छ अथवा टिबेटको जस्तो सुनिन्छ भनेर हीनता बोक्नु जरुरी छैन । बरु फरक बन्न प्रयत्न गर्नु जरुरी छ ।
‘अर्केस्ट्रा’ को निर्माणपछि संगीतमा आफ्नोपन झल्काउन सकिन्छ भन्यो भने ‘अर्केस्ट्रा’ पश्चिमाहरूको शैली हो भन्ने धारणा राख्ने पनि छन् । वाद्यवादक समूह अथवा ‘अर्केस्ट्रा’ र तिनले बजाउने संगीतमा भिन्नता छुट्याउन नसक्नेले यसो भन्छन् । अबको अवस्थामा त लोकजगत् पनि प्रभावमुक्त भएर सिर्जना गर्ने अवस्थामा छझैँ लाग्दैन । यस्तोमा मौलिकताको प्रवर्द्धन सम्भव छ त ? पक्कै छ । तर, अरूको सांगीतिक शैली नसुनियोस् भनेर कान थुनेर मौलिक बन्ने प्रतिबन्धित तरिका हाम्रो लोकतान्त्रिक समाजको पद्धतिसँग मेल खाने शैली होइन । हामीले संसारभरिका सुन्दर लोकसिर्जना र हाम्रा लोकसिर्जनालाई एकसाथ सुनेर तिनका सबल र निर्बल पक्षलाई केलाउँदै प्रशिक्षित हुने बाटो अपनाउनु ठीक हुन्छ । यसका निम्ति राज्यले लोकसंगीतलाई शिक्षा नीतिमै संलग्न गराएर संरक्षण र प्रवर्द्धन गर्ने बाटो अँगाल्यो भने सम्पूर्ण देशको भावनात्मक एकतालाई बल पुग्छ ।

कोसेली

‘लोकसंगीतको सफ्टवेयर हाम्रै हो’

- देवेन्द्र भट्टराई
कुमार आले

किशोर गुरुङ (६०) आधुनिक संगीतका व्याख्याता एवं चिनिएका वाद्यवादक हुन् । क्लासिकल गिटारवादनमा ख्याति राख्ने किशोरले अमेरिकाको युनिभर्सिटी अफ हवाईबाट गुरुङ जातिमा रहेको घाटु परम्परामाथिको ‘इथ्नोम्युजिकोलोजी’ लाई आधार बनाएर मास्टर्स गरेका छन् । महाराजगन्जस्थित आफ्नै निवासमा स्वेच्छामा आउने संगीतका विद्यार्थीलाई वाद्यवादन सिकाउनमा व्यस्त किशोरको आफ्नो अध्ययन–अनुसन्धानमा आधारित घाटु संगीत परम्पराको पुस्तक ‘घाटु : अ न्यारेटिभ म्युजिक ट्रेडिसन अफ नेपाल’ यसै महिना सार्वजनिक हुँदै छ ।

आधुनिक संगीत, गीतारवादनजस्ता फरक विषयको ज्ञाता भएर पनि घाटु संस्कृति र संगीतको अध्यनमा किन लाग्नुभएको थियो ?
संगीतसँग अनेक पक्ष— आर्थिक, सामाजिक, धार्मिक, राष्ट्रियता, बौद्धिक सम्पत्ति अधिकारको पक्ष र मनोरञ्जन जोडिएको हुन्छ । मैले जब अन्तर्राष्ट्रिय सांगीतिक इतिहास धेरथोर बुझ्न थालें, तब हाम्रो पहिचान (आफ्नोपना) रहेको लोकसंगीत पनि अध्ययन गर्ने इच्छा जाग्यो । त्यसमा पनि सांगीतिक अध्ययन र अनुभवको फाँट बृहत् बनाउने क्रममा मेरो बुबा (अम्बर गुरुङ) ले सिकाउनुभएको ज्ञानको कुरा पनि हो यो ।

घाटु संस्कृति र संगीतकै रोजाइ किन भएको थियो ?
भेडाको बथान लिएर गुरुङहरू लेकमा गएको बेला टुङ्ना बजाएर गीत गाउँछन् भन्ने सुनेको थिएँ । कस्तो गीत होला भन्ने कौतूहल मनमा लाग्थ्यो । पछि घाटु नाचबारे सुनें र त्यो लोकसंस्कृतिको सूक्ष्म पक्षबारे सूक्ष्म अध्यन गर्ने इच्छा बढेर गयो । त्यसबेला यो पनि थाहा भयो— घाटुको यो सूक्ष्म पक्षबारे अहिलेसम्म कहींकतैबाट अध्ययन भएको छैन । युनिभर्सिटी अफ हेलिन्सिकीकी इथ्नोम्युजिकोलोजी प्राध्यापक पिरक्को मोइसल्लाले घाटु नाचको अध्ययन गरेकी छन् तर त्यसमा संगीतको सूक्ष्मपक्ष भने अध्ययनमा आएको रहेनछ । हाम्रो लोकसंगीतको अध्ययन गर्ने अध्येता धेरै भैसके । जस्तो : मोइसल्ला, टिङ्गी, बाके, हेन्डरसन, ग्रिन, कल्लास, ग्रानजिन आदि ।
घाटुको अध्ययन पनि जातीय संगीतमा विद्यमान विविधताको खोजी गर्न गरेको थिएँ । झन्डै ३० वर्षअघि कास्कीको याङ्जाकोट र तनहुँको झारगाउँमा गएर यो अध्ययन गरेको थिएँ । मैले गरेको अध्ययन गुरुङ जातिकेन्द्रित छ । तर, मगर, माझी जातिमा पनि घाटु संस्कृति रहेछ । आश्चर्य लाग्ने कुरा के छ भने गुरुङले बोल्ने तिबेतो–बर्मन भाषा भए पनि घाटु संगीत भने इन्डो–आर्यन आधारित छ । यसको विस्तृत भाषिक अध्ययन हुनै बाँकी छ । यो भाषाको कुरा (इथ्नोम्युजिकोलोजी) भए पनि समाजशास्त्र र मानवशास्त्र आधारमा मात्रै संगीत–संस्कृतिको अध्यन हुने गरेको छ ।

तपाईले जातीय संस्कृति/संगीतमा गरेको अध्ययनको सार के हो ?
नेपाल लोकसंगीतको खानी हो । तराईदेखि हिमालको फेदसम्म र नेपालबाहिर पनि यो संगीत बाँचेको छ । हामीले लोकसंगीतलाई बुझ्दा विभिन्न जातीय (एथ्निक) लगायतका संगीत भनेर बुझ्नुपर्छ । यो ऐतिहासिक तथ्य पनि सही हो कि हामीले उत्तर–दक्षिणका राष्ट्रहरूसँग मिलेका लोकसंगीत र बाजाहरू नेपालमा पनि पाउँछौं । तर, लोकसंगीत परम्पराहरूमा पनि हामीले छुट्टै नेपालीपन पाउँछौं जसको सूक्ष्म अध्ययन नै मेरो संगीत अध्यनको सार हो । उदाहरणका लागि क्यारोल टिङ्गीले गरेको अध्यनमा नौमती बाजाको उत्थान मुगल साम्राज्यको समयमा भएको भनिएको छ तर यो नौमती बाजाको नेपाली समाज–संस्कृतिमा छुट्टै स्थान छ, भिन्न पहिचान छ— विशेषतः यसका भाकाहरूमा । अब ती भाकाहरूको सांगीतिक पक्षको सूक्ष्म अध्ययन हुन बाँकी देखिन्छ । यस कुरालाई यसरी बुझ्दा पनि हुन्छ— ती हार्डवेयर र सफ्टवेयरका बुँदा हुन् भनेर । हाम्रो पहिचानमा सफ्टवेयर (म्युजिक डिटेल, गायन, बादन आदि) को मान्यता बहुमूल्य हुन्छ । यत्ति हो कि स्रोत एउटै भए पनि बाजा बजाउने तरिकाहरू, शैलीगत कुरा भने भिन्न छ । अरूसँग यो हाम्रो शैली मिल्दैन, यो नेपालीपनको कुरा मैले घाटुमा पनि गरेको छु । संगीत स्रोतका कुरामा ‘हार्डवेयर’ मात्रै मिलेको हो, सफ्टवेयर त मिल्दैन नि । यो कुरालाई पनि ख्याल गर्नुपर्‍यो ।

लोकसंगीत (फोक म्युजिक) र जातीय संगीत (इथ्निक) बीचको अन्तर के हुन सक्छ ?
जातीय र लोकसंगीत भन्नु उही हो । तर, लोकसंगीतको चित्तबुझ्दो परिभाषा संसारभरै कसैले गर्न सकिरहेको छैन । यसलाई केवल गाउँघरको स्वतः प्रस्फुटित भनेर मात्रै परिभाषित गर्न मिल्दैन । बरु एउटा सबैलाई मान्य बुँदा के हुन सक्छ भने लोकसंगीतको रचनाकार थाहा हुन्न । अमेरिकामा ‘ब्लू–ग्रास’ भन्ने लोकसंगीत छ, ठेट खालको । यो लोकसंगीतको शब्दमा छ— ‘नाइन्टी माइल्स एन आवर ड्राइभिङ इन द कार ।’ यो गाउँघरको वातावरणभन्दा परको कुराजस्तो लाग्छ । फिजी आइल्यान्ड र अरू प्यासिफिक संस्कृति हेर्ने हो भने त्यहाँ माछा, माछाको रङ, माछा समूहमा तैरिएको जस्ता कुरा लोकसंगीतमा भएको पाउँछौं । हामीले पनि रारा, फेवाताल, माछापुच्छ्रेलाई लोकसंगीतमार्फत सेलेब्रेट गर्दै आएका छौं । झाँक्रीले फलाकेको भाका (ब्लुजजस्तै) हामी लोकसंगीतमा प्रयोग गर्छौं, जबकि पश्चिमाहरू चर्च, धार्मिक स्थलका आवाज (ध्वनि) लाई लोकधुनमा हाल्दैनन् । अहिले आएर ब्रिटिस म्युजियमले लोकसंगीतलाई ‘वर्ल्ड म्युजिक’ भन्न थालेको छ ।

उसो भए जातीय र लोकसंगीतको आधारभूमि एउटै हो त ?
नेपाली संगीत भनेर ३ मुख्य फाँट गाभिएको संगीत भनेर बुझ्नुपर्छ— लोक, शास्त्रीय र आधुनिक । मैले मुख्य ३ फाँट भनेको कारण के हो भने कतिपय धार्मिक आस्थासँग गाँसिएको लोकसंगीत पनि हामीकहाँ छ । जस्तो : खुम्बु क्षेत्रमा प्रचलित मानिरिम्दु, लामोलामो लुगा लगाएर नाचिने बौद्ध नाट्य प्रस्तुति हो । मानिरिम्दु नाटकमा एउटा जोकर क्यारेक्टरले हँसाउने काम गर्छ तर त्यो चरित्र वास्तवमा एउटा चिनियाँ चरित्रको चित्रण रहेछ, जसले वास्तविक रूपमा धार्मिक आस्थाको महत्त्व नबुझेको हुँदोरहेछ । नेवार समुदायमा रहेको चर्या नाचको कुरा गरौं— त्यस्ता प्रस्तुतिमा नेपाली समुदायविशेषको कत्रो अनुभूति र आस्था पाउन सक्छौं । गुरुङहरूको प्रस्तुति घाटु नाचमा नाच्ने घाटुनीहरू देवी चढेर लठ्ठ परेका हुन्छन् । यो दृष्टिकोणबाट हेर्दा वा बुझ्दा, त्यो बुझाइ सीमित हुन सक्छ ।