You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

ओर्लंदो ओज

- कान्तिपुर संवाददाता

(काठमाडौं) - २०२९ असारमा केपी शर्मा ओली झापामा सशस्त्र विद्रोह गरिरहेको तत्कालीन नेकपा विद्रोही समूहको सचिव चुनिए । तर, नेतृत्वमा रहँदा एक पटक पनि बैठक बोलाउन नसकेपछि उनी झापा जिल्ला कमिटी सचिवमा लामो समय टिकिरहन सकेनन् । त्यसपछि नेपाली कम्युनिस्ट आन्दोलन र स्वयं ओलीको जिन्दगी आरोह–अवरोहमय भयो,
खुड्किलो चढ्ने र झर्ने क्रम चलिरह्यो । पहिले झापामा मात्र सीमित उनी
आबद्ध दल कोअर्डिनेसन केन्द्र, माले हुँदै एमाले बन्यो, तर छायामा परिरहेका ओलीलाई फेरि उसैगरी नेतृत्वमा आउन ४३ वर्ष लाग्यो ।
२०७२ असारको नवौं महाधिवेशनबाट ओली तत्कालीन एमालेको अध्यक्ष बने, त्यही वर्ष असोजमा पहिलो पटक प्रधानमन्त्री भए । २०७० सालमा भएको संसदीय दलको चुनावमा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई पराजित गरेर सुरु भएको उनको शक्ति–यात्रा अहिले दोस्रो पटक प्रधानमन्त्रीका रूपमा जारी छ । पछिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीसँग जनताको लोकप्रिय मत, आफैंले इच्छाएका मन्त्रीहरू र ड्याङड्याङ निर्णय गर्न सक्ने तागत थियो । ओलीसमेतको नेतृत्वमा ठूला कम्युनिस्ट दलहरू एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्यो । मुलुकको सबभन्दा ठूलो राजनीतिक दल नेकपाको पहिलो नम्बरको शक्तिशाली अध्यक्ष पनि उनी नै छन् । परिस्थिति यति धेरै अनुकूल हुँदाहुँदै पनि अहिले ओलीको लोकप्रियताको ग्राफ क्रमशः ओरालो लाग्दै गएको विश्लेषण स्वयं ओलीवृत्तमै हुन थालेको छ ।

विवादित निर्णयको बचाउ
मन्त्रिपरिषद् बैठक र आफू उपस्थित सरकारी निकायका प्रत्येकजसो बैठकमा प्रधानमन्त्री ओलीले विकास निर्माणका काम चुस्तदुरुस्त हुन नसकेको भन्दै मन्त्री र कर्मचारीलाई हप्कीदप्की गरेको खबर बेलाबेला बाहिरिन्छन् । उनको शैली र बैठकहरूमा हुने सशक्त प्रस्तुतिका कारण कर्मचारीले भनेकै
बेला तोकिएको काम सक्नुपर्ने हो तर त्यस्तो हुने गरेको छैन ।
गत मंसिर पहिलो साता सरकारको चौमासिक समीक्षात्मक बैठकमा ओलीले देशभरिका ठेक्कापट्टा र सरकारले दिएको अनुदानको अवस्थाबारे १५ दिनभित्र जानकारी गराउन निर्देशन दिएका
थिए । बेलैमा काम नसक्ने ठेकेदारलाई तुरुन्तै कारबाही गर्नु पनि भनेका थिए तर दुई महिना पुगिसक्दासमेत प्रधानमन्त्रीले दिएको निर्देशनसमेत पालना भएन । हुन त उनले दुई वर्षमा सरकारले ‘असामान्य उपलब्धि हासिल गरेको’ भन्दै त्यसको विवरण केन्द्रीय कमिटी बैठकमा पनि पेस गरेका थिए ।
सरकारले फिटिक्कै काम नगरेको भन्ने होइन तर ओलीले भनेझैं सरकारले विवादरहित उपलब्धि हासिल गर्न नसकेको सहप्राध्यापक बालकृष्ण माबुहाङले टिप्पणी गरे । ‘दुई वर्षमा सरकारले गरेका निर्णय र चालेका कदम विधिसम्मत, लोकतान्त्रिक पद्धतिबाट भइराखेका हुन् कि वैयक्तिक भनेर आममान्छेले बुझेर फरक छुट्याइसकेका छन्,’ माबुहाङले भने ।
करिब दुई तिहाइ मत पाएपछि प्रधानमन्त्री ओलीले सरकार सञ्चालनका निर्णय, आवश्यक कानुन निर्माणको प्रक्रिया, सरुवाबढुवा र नियुक्ति जब एकछत्र ढंगबाट गर्न थाले, स्वेच्छाचारी शैलीको सुरुवात त्यहींबाट भएको जानकारहरूको धारणा छ । त्यसैबीच सरकारले केही कानुन संशोधन गरी विवादित निर्णय लिने नीतिगत आधार तयार पार्‍यो ।
आफूनिकट व्यापारिक समूह यति होल्डिङ्सलाई गोकर्ण फरेस्ट रिसोर्टको ‘लिज’ विवादास्पद ढंगले २५ वर्षका लागि थप्ने निर्णय प्रधानमन्त्रीकै अग्रसरतामा भयो । मुलुकका थुप्रै स्थानमा यसैगरी सरकारी जग्गा र सम्पत्ति यति समूहलाई सुम्पेको खुलासा यसबीचमा भयो । एउटै व्यापारिक समूहलाई अपारदर्शी ढंगले सरकारी सम्पत्ति बुझाउने कार्य कुन आधारमा भएको हो, त्यसको व्यापक विरोध हुँदा पनि प्रधानमन्त्री ओलीले निष्पक्ष छानबिन गर्ने घोषणा गरेनन्, बरु पार्टी बैठकदेखि सार्वजनिक मञ्चहरूमा समेत उक्त व्यापारिक समूहलाई संरक्षण गरिरहे ।
ओलीले बालुवाटार जग्गा काण्डमा परेका आफूनिकट नेताहरूको बचाउ गर्न खोज्दा पनि आफूलाई हल्का रूपमा प्रस्तुत गरेको माबुहाङको भनाइ छ । ‘बालुवाटारमा मैले पनि जग्गा किनेको भए त फस्ने पो रैछु भनेर प्रधानमन्त्रीज्यूले जसरी डिफेन्ड गर्नुभयो, त्यो मामिला त्यति हलुका हो र ?’ उनले भने, ‘प्रधानमन्त्रीसँग जनताले हल्का टिप्पणीको त अपेक्षा गरेका हैनन् ।’
गुटको छलफल ब्युँतियो
पूर्वएमाले हुँदा ओलीलाई गुट सञ्चालन गरेको आक्षेप लागिरहन्थ्यो । पार्टीको आठौंदेखि नवौं महाधिवेशनसम्मको समयमा ओली पक्षको जमघट पार्टी कार्यालयमा होइन, मदन भण्डारी फाउन्डेसनमा हुन्थ्यो, करिब समानान्तर गतिविधिका रूपमा । जब ओली
आफैं शक्तिशाली भए, फाउन्डेसनका भेलाहरू हुन छाडे तर गत सोमबार फेरि पुरानो शैलीको पुनरावृत्ति गर्दै ओली टिममा रहेका नेताहरू फाउन्डेसनको कार्यालयमा करिब चार घण्टाजति छलफलमा जुटे र आफ्नो पक्ष रक्षात्मक बन्नुको कारण खोतले ।
‘जति होइन भनेर दाबी गरे पनि केन्द्रीय कमिटी बैठकमा हाम्रो स्थिति अलि रक्षात्मक भयो, सरकारका काममा पनि आलोचना हुन थाल्यो,’ भेलामा सहभागी एक नेताले कान्तिपुरसँग भने, ‘त्यसैले पार्टी र सरकारमा अझै कसरी प्रभावकारी उपस्थिति हुन सक्छ भन्नेबारे कुराकानी गर्न जुटेका हौं ।’
ती नेताले आफ्नो समूहभित्र यस्ता छलफल अब निरन्तर चल्ने बताए । पार्टी र सरकारमा ओली पक्ष कमजोर बन्दै गइरहेको निष्कर्ष निकालेका उनीहरू त्यसलाई कमजोर बनाउन अर्का अध्यक्ष पुष्पकमल दाहालले भूमिका खेलेको निचोडमा पुगेका थिए ।

‘केन्द्रीय कमिटी बैठकमा तपाईंले देख्नुभयो नि, १५ वटा समूहमध्ये ९ वटाका नेता पूर्वमाओवादीतिरका थिए, हामी को ओली पक्षको र को नेपाल पक्षको भन्ने हिसाबकिताबमै अल्झियौं,’ ओलीनिकट ती नेताले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको कुरा उठ्यो, निर्वाचन प्रणाली फेर्ने कुरा भयो, त्यो त पूर्वमाओवादीको एजेन्डा हो
नि π’ त्यो बेला पूर्वमाओवादी पक्षधरले बैठकमा कस्ता कुरा उठाउने भनेर आफूनिकटलाई ‘सर्कुलर’ गरेको ओली पक्षका नेताहरूको बुझाइ छ ।
भेलामा सचिवालय सदस्यसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत करिब १२ जना थिए ।
राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल यस्ता भेलालाई ‘अलायन्स फर एड्भान्टेज’ का रूपमा व्याख्या गर्न रुचाउँछन् । ‘कहिले कुन, कहिले कुन समूह सक्रिय भइरहेको हुन्छ,’ पोखरेलले कान्तिपुरसँग भने, ‘पार्टीमा कमजोर भएपछि समूहमा छलफल चलाउनु नेताहरूको चरित्र हो ।’
यो बुझाइ स्वयं ओलीको समेत हो । त्यसैले पछिल्लो समय ओलीले पनि पार्टी सचिवालयभित्र र बाहिरका एक–एक नेता बोलाउँदै उनीहरूको नाडी छाम्दैछन् । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै ओलीले वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै छलफल गरेका छन् । नेपालसँगको भेटमा पूर्वएमालेलाई बलियो बनाउन प्रस्ताव गरेका ओलीले खनालसँग भने अबको राष्ट्रपति बनाउने शक्ति आफूसँग भएको भन्दै नेपालको पछि नलाग्न आग्रह गरेका थिए । यसअघि ओली शक्तिशाली भएर आफ्नै मनमौजीमा निर्णय गर्दा धोबीघाट भेला भएको थियो भने यसपालि सभामुख चयनमा पेल्न खोज्दा नेताहरूले भैंसेपाटी भेला गरेका थिए । ‘प्रधानमन्त्रीले पहिले पार्टी र सरकार दुवै समन्वय नगरी चलाउनुभयो, उहाँको भूमिकालाई लिएर अरू नेताले असहज महसुस गरी उनीहरू एकै ठाउँमा आए,’ पोखरेलले भने, ‘त्यसको असर केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयमा समेत देखियो ।’
नेकपा सचिवालयको पछिल्लो समीकरण हेर्दा ओली पक्ष अल्पमतमा परेको देखिन्छ । गत माघ १९ मा बसेको सचिवालय बैठकमा त्यसको दृश्य स्पष्टै देखियो । अमेरिकी सहयोगसम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदानसम्बन्धी सम्झौताबारे अध्ययन गर्न कार्यदल बनाउनै हुन्न भन्ने ओलीको अडानलाई सचिवालयमा रहेका अरू आठ सदस्यले साथ दिएनन् । ‘ईश्वर पोखरेल र विष्णु पौडेल पनि त्यो बेला मौन
रहनुभयो,’ सचिवालय स्रोतले भन्यो, ‘सचिवालयमा ओलीको एजेन्डा अल्पमतमा परेको सम्भवतः पहिलो पटक हो ।’
एमसीसी सम्झौता संसद्बाट सजिलै अनुमोदन हुन्छ भन्ने उनको बुझाइ थियो तर नेकपाभित्रकै असन्तुष्ट पंक्तिले एमसीसीबारे विवाद सिर्जना हुने गरी बहस चलाइदियो । अघिल्लो पटक प्रधानमन्त्री हुँदा भारतीय पक्षले गरेको नाकाबन्दीविरुद्ध अडान लिएर देशभक्त करार भएका ओलीलाई केही नेताले एमसीसीको सहयोग स्विकार्दा ‘राष्ट्रघात’ हुने टिप्पणी गरिदिएपछि जबर्जस्ती अघि बढ्न समस्या पर्‍यो । उनकै चाहनाबेगर पार्टीले एमसीसीबारे अध्ययन गर्न कार्यदल बनायो । यद्यपि अर्का अध्यक्ष दाहालले पनि संसद्बाट एमसीसी अनुमोदन गराउँछौं चाहिँ भनेका छन् ।
ओलीले एमसीसी सम्झौता अनुमोदन गर्नै हुन्न भनेर भेट्न पुगेका नेकपा माले र नेकपा क्रान्तिकारी माओवादीका छुट्टाछुट्टै टोलीसँग कार्यदल अनावश्यक रहेको टिप्पणी गरे । ‘सम्झौता अनुमोदन गर्नुपर्छ भन्नेमा ओलीजी एकदमै दृढ हुनुहुँदोरहेछ, आफैंले बनाएको कार्यदल पनि फाल्तु र अनावश्यक भनेर हामीसँग टिप्पणी गर्नुभयो,’ माले महासचिव सीपी मैनालीले कान्तिपुरसँग भने, ‘उहाँकै पार्टीको केन्द्रीय कमिटीमा त्यत्रो विरोध छ, अध्ययनका लागि कार्यदल बनेको छ तर बलमिच्याइँले निर्णय गर्ने पुरानो बानी कायमै रहेछ, यसले ओलीजीलाई नै अप्ठ्यारो पर्ने देखिन्छ ।’ माघ १९ यता नेकपा सचिवालय बैठक बसेको छैन, यो बीचमा एक पटक डाकिएको बैठक स्थगित भएको थियो ।

शक्ति क्षयीकरणको सिलसिला
पछिल्लो समय ओली शक्ति ह्रासको सुरुवात गत मंसिर ५ मा दाहाललाई कार्यकारी बनाउने निर्णयको पृष्ठभूमिबाट सुरु भयो, जुन उनको इच्छाविपरीत थियो । पार्टी एकताका बेला वरिष्ठ नेताको पहिलो नम्बर सूचीमा रहेका नेपाललाई वरिष्ठताबाट तल झार्ने गरी ओलीले गत भदौमा गरेको निर्णय यसपालि प्रत्युत्पादक भयो ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गर्ने निर्णयमा ओली जति निर्णायक बन्न सक्थे, त्यति नै भूमिका अर्का नेता माधवकुमार नेपालको पनि थियो । नेपाल त एकताको प्रस्ताव तयार पार्ने कमिटीका संयोजक नै थिए । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष दाहाल ओलीभन्दा नेपालसँग सहज महसुस गर्थे । त्यसैले त्यो बेला ओली, नेपाल र दाहालको ‘ट्युनिङ’ मिल्यो । पार्टी एकीकरणका लागि थुप्रै छलफल गरिए, प्रधानमन्त्रीसमेत रहेका ओली शक्तिशाली प्रथम अध्यक्ष भए भने दाहाल द्वितीय । तत्कालीन एमालेको विधान र परम्परा मिचेर नेपाललाई पहिलो वरीयताको वरिष्ठ नेता बनाइयो । पार्टी एकताताका चीनमा रहेका वरिष्ठ नेता खनालले फर्किएपछि सचिवालयमा असन्तुष्टि पोखे ।
६०/४० को हिसाबकिताबमा गरिएको एकीकरणबारे त्यतिखेरै पनि टिप्पणी भएको थियो, ‘ओली र दाहालले आआफ्नो पार्टीको अवतरणका लागि सिद्धान्त थाती राखेर गणितीय मोलतोल गरे ।’ तर तत्कालीन एमालेलाई परेको ६० प्रतिशतमा ओली र नेपालबीच शक्तिसंघर्ष सुरु भयो । पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई पेलेर भागबन्डा गर्न थाले । त्यसको सुरुवात गण्डकी प्रदेश र प्रदेश ५ का मुख्यमन्त्रीहरूलाई पार्टी प्रदेश कमिटीको समेत इन्चार्ज बनाएर गरियो । नेपालले ओलीको यही निर्णयविरुद्ध पहिलो पटक ०७५ असोज ५ मा नेकपा सचिवालयमा फरक मत दर्ता गरे । ओली र नेपालबीचको दूरी बढ्दै गयो । शक्तिको बल ओलीले नेपालसँग मात्रै होइन, अर्का अध्यक्ष दाहालसँग पनि देखाएका थिए । त्यो बेलाको परिस्थिति स्मरण गर्दै बालुवाटार स्रोत भन्छ, ‘प्रधानमन्त्रीज्यूले भेट्न बालुवाटार आएका
अर्का अध्यक्ष दाहाललाई दुई घण्टासम्म पनि कुराउनुभएको छ ।’
अर्को कुरा, ओली स्वयंले दाहाल, नेपाल र वामदेव गौतमबीच झाँगिइरहेको गुट भत्काउन दाहाललाई कार्यकारी अध्यक्ष दिने प्रस्ताव गरेका थिए भने गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने आश्वासन । भदौको आश्वासन मंसिरसम्म पनि पूरा नगरेको भन्दै यी नेताहरू फेरि गुटबन्दीमा सक्रिय हुन थालेपछि ओली दाहाललाई कार्यकारी अध्यक्ष बनाउन राजी भए । उनलाई अर्को झड्का सभामुख चयन प्रक्रियामा लाग्यो, जसलाई ओलीले यति धेरै गम्भीर रूपमा लिएका थिएनन् । पूर्वमाओवादी पक्षधरलाई नै सभामुख दिनुपर्छ भन्नेमा दाहालभन्दा नेपाल र गौतमले बढी जोड दिए । खनाल पनि यो गुटबाट टाढा थिएनन् । दाहाल नेतृत्वमा भएको भैंसेपाटी भेलाले यो समूहलाई झन् बलियो बनायो । ‘भेलालाई पार्टी र सरकारमा अब ओलीको एकलौटी सकियो भन्ने सन्देशका रूपमा बुझ्नुस् न,’ भेलामा सहभागी एक नेताले त्यतिखेरै कान्तिपुरसँग भनेका थिए ।
वामपन्थी गतिविधिलाई नजिकबाट नियाल्ने लेखक सरिता तिवारी प्रधानमन्त्रीत्व नै जान्छ कि भन्ने हिसाबले पनि उनले सभामुखमा दाहालसँग सम्झौता गरेको टिप्पणी गर्छिन् । ‘पार्टी राजनीतिका हिसाबले दाहाल एकदमै खतरा खेलाडी हुन्, उनले एमाले वृत्तको पनि नेपाललगायत पंक्तिसँग ओलीको अन्तर्विरोधमा आफूलाई बलियो बनाउँदै लगेको जस्तो देखिन्छ । नेपालहरू पनि ओलीभन्दा बरु प्रचण्डलाई बलियो बनाउने कि भन्नेमै छन्,’ तिवारीले भनिन्, ‘बाहिर हेर्दाखेरि ओली बलियो देखिन्छन् तर साइकोलजीकल्ली अप्ठ्यारामा छन् भन्ने देखिन्छ ।’ यसकारण पनि ओलीको प्रस्तुति रक्षात्मक बन्दै गएको उनको भनाइ छ । पछिल्लो पटक लगालग भएका तीन कार्यक्रममा प्रकट भएको ओलीको प्रस्तुतिले तिवारीको यो विश्लेषणको पुष्टि पनि गर्छ ।
केन्द्रीय कमिटी बैठकको समापन, त्यसको भोलिपल्ट अखिल नेपाल महिला संघको कार्यक्रम र गत माघ २१ मा सम्पादकहरूसँगको छलफलमा उनले एउटै बोली दोहोर्‍याए र भने, ‘पार्टीमा कुनै समस्या छैन, एकजुट भइसक्यो ।’ तर उनको मनको त्रास मेटिएको देखिएन । पछिल्लो पटक नेपाल, खनाल र गौतमसँग भएका छुट्टाछुट्टै भेटमा ओलीले पार्टीभित्र पूर्वमाओवादी मौलाउँदै गएको र त्यसको असर केन्द्रीय कमिटी बैठकमा समेत देखिएको गुनासो गरे । ‘नेकपाको नेतृत्वमा अहिले संघर्ष र एकता दुवै चलिरहेको छ,’ नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘त्यसकारण सबैभन्दा बेचैनीमा रहेका ओलीले कहिले डिनरको आयोजना गर्नुहुन्छ, कहिले सारंगी रेट्नुहुन्छ ।’ हुन पनि यसअघिसम्म अत्यावश्यक काम परेरसमेत भेट्न नपाएको गुनासो गर्ने नेताहरू यसपालि ओलीले आयोजना गरेको रात्रिभोज र सारंगी साँझको बहानामै भए पनि उनीसँग बालुवाटार छिर्न पाए । आफू कमजोर हुँदा होस् या अरू बलियो भएका बेला, ओलीले अपनाउने ‘डिनर डिप्लोमेसी’ को निरन्तरताका रूपमा ती बैठकहरूलाई बुझिएको थियो ।
राजनीतिशास्त्री प्राध्यापक पोखरेल सिलसिलेबार रूपमै ओलीको शक्ति ओरालो लागेको र अब मिच्याइँ गरेर अघि बढ्न सकिन्न भन्नेमा उनी स्वयं पनि पुगेको हुन सक्ने बताउँछन् । ओली अहिले पार्टीभित्र मात्र होइन, बाहिरी मोर्चामा पनि केही ‘डिफेन्सिभ’ भएका छन् । दुई वर्ष पुगिसक्दा उनी नेतृत्वको सरकारका राम्रा काम यी हुन् भन्दै उनकै पार्टीका नेताले स्वामित्व लिन सकेका छैनन् । ओली आफैं र उनको सचिवालयमा रहेकाबाहेक पार्टीका प्रभावशाली नेता सरकारले गरेका कामको खुलेर प्रशंसा गर्न चाहँदैनन् । संसदीय मोर्चामा पनि उनको विगतको जस्तो शक्ति छैन । उनी प्रधानमन्त्रीमा निर्वाचित हँॅदा समाजवादी पार्टी र राजपासमेत दुई तिहाइको समर्थन थियो । क्रमशः दुवै दलले उनलाई दिएको समर्थन फिर्ता लिएका छन् तर यति नै कारणले मात्रै ओलीले आफूलाई कमजोर महसुस नगरेको दाबी नेकपा केन्द्रीय सदस्य प्रदीप नेपालको छ । ‘ओलीको चरित्र नै त्यस्तो होइन, एक जना मात्रै हुँदा पनि उहाँ हल्लिनुहुन्न,’ नेपाल भन्छन्, ‘तर जो उहाँप्रति सहानुभूति राख्थे, उनीहरूलाई पहिल्यै पाखा लगाउनुभएको छ, आउँदा दिनहरू उहाँले स्विकारे पनि नस्विकारे पनि चुनौतीपूर्ण भने छन् ।’

 

मुख्य पृष्ठ

दृष्टिविहीन जो दोहोरी साँझमा धुन भर्छन्

- जनकराज सापकोटा

(काठमाडौं) - कपनछेउ हुँदै काठमाडौंको केन्द्र ताकेर बग्ने धोबीखोलाको पानीमा कुनै संगीत छैन । फोहोर र ढलसँगै आफूलाई बहाइरहेको यही खोला छेउमा छ, पाथीभरा टोल । कपन साततलेस्थित यो टोलका १७५ झुपडीमध्ये एउटा ३४ वर्षीय पूर्ण दृष्टिविहीन पदम लामाको हो, जसको जीवन भने संगीतकै धुनबाट धानिएको छ ।
आठ वर्षको उमेरमा बिमारी परेपछि दृष्टि गुमाएका पदम बाबुको हात पक्रेर नुवाकोटको ढिकुरेबाट काठमाडौं पसेका थिए । त्यसयताको २४ वर्ष उनले यही ओसिलो झुपडपट्टीमा बिताइसकेका छन् । यहीं बसाइमा संघर्षका अनेक घुम्ती छिचोलेका पदमको कथाले दृष्टिविहीनहरूको त्यो समूहको प्रतिनिधित्व गर्छ, जसले सहरी संघर्षको सकस हाँस्दै झेलिरहेका छन् । फुटपाथको छेउकुनामा गीत गाएर बस्ने दृष्टिविहीनलाई खेदेर ‘सुन्दर सहर’ बनाउने सरकारको अभियान जारी रहेका बेला पदमहरूको कथाले उनीहरूको जीवन र सहरी समाजको चरित्र बुझ्न सघाउँछ ।
दुई जना मान्छे एकैचोटि छिर्न पनि मुस्किल पर्ने पाथीभरा टोलको साँघुरो गल्लीको अन्तिम कुनामा उनको झुपडी छ । त्यो झुपडीमा मुस्किलले घाम छिर्छ । मुस्किलले स्वच्छ हावा बहन्छ । ओसिलो गल्ली हुँदै पुगिने यही झुपडीमा उनको जीवनको लेखान्त कोरिएको छ । किनकि यहीं बस्दाबस्दै उनले आफूजस्तै पूर्ण दृष्टिविहीन सुजाता राईलाई प्रेम विवाह गरी भित्र्याए । दमकी रोगी आमालाई गुमाए । अनि यहीं उनले पक्षघातले थलिएका बाबु स्याहार्दै ३ कक्षामा पढ्दै गरेको छोरा हुर्काइरहेका छन् ।
पदमको दिनचर्या आम मान्छेको जस्तो बिहान सुरु भएर साँझ पुगेपछि अन्त हुँदैन । उज्यालो र अँध्यारोको हिसाबभन्दा पर रहेका पदमको दिनचर्या साँझ ढल्किन थालेपछि मात्रै सुरु हुन्छ र रात छिप्पिएर बिहानको गर्भ सुरु भएपछि अन्त्य ।
साँझ ढल्किन लागेपछि ‘ह्वाइट केन’ को सहारामा गल्ली पछ्याउँदै पदम मूल सडकमा निस्कन्छन् र सार्वजनिक बस कुर्छन् । उनको अनुभवले भन्छ, केही बसका चालक र सहचालक यस्ता हुन्छन्, जसले दृष्टिविहीनलाई बस चढाउन समय धेरै लाग्ने, सिट मिलाइदिनुपर्ने बाध्यता देखाएर बोक्न मान्दैनन् । ‘तर सबै खराब छैनन्,’ उनले भने ।
सुन्धाराको इन्द्रेणी दोहोरी साँझमा ७ बजे पदमको काम सुरु हुन्छ । दोहोरीको स्टेजमा चढेपछि उनका हातले अक्टाप्याडबाट अनेक धुन सिर्जना गर्न थाल्छन् । गीतको भाका पक्रिँदै धुनको संसारभित्र हराउँछन् । दोहोरीमा को–को आउँछन् ? तिनीहरूले के–के पिउँछन् ? पदमलाई के चासो । उनको एउटै सुर हुन्छ, आफ्ना साथीहरूले निकालिरहेको संगीतको धुनमा अक्टोप्याडको धुन कसरी मिसाउने र झनै मिठो धुन सिर्जना गर्ने ।
पदम दोहोरी साँझसँग जोडिएको करिब ६ वर्ष भयो । यो अवधिमा उनले आधा दर्जन दोहोरी साँझ फेरिसके । सुनाए, ‘कुनैको साहु नै फटाहा हुने । तलब नदिने । कुनैका किचकिचे ।’ कोटेश्वरको एक दोहोरी साँझले उनलाई दुई महिना काम गरेको तलब दिएन । मनकारी ग्राहकले खुसी भएर दिएको टिप्स मध्यरातमा भाग लगाउँदा जति पर्छ, त्यसैलाई उनले तलब भन्ठानेर चित्त बुझाए । उनीसँग अरू पनि चार/पाँच दोहोरी साँझको नाम कण्ठस्थ छ, जसले उनको एक/डेढ महिनाको तलब झ्वाम पारिदिए ।
दोहोरी छिर्नुअघि पदमले जीविकोपार्जनका निम्ति गरेका कामको फेहरिस्त नै छ । अनि ती कामका अलग–अलग दुखान्त पनि । एकताक उनले घरमै मैनबत्ती बनाएर बजारमा डुल्दै बेच्न हिँडे । तर स्थानीय बजारमा महँगो पर्ने कच्चा पदार्थ र भारतीय बजारबाट ठूलो परिमाणमा आउने मैनबत्तीसँग प्रतिस्पर्धा गर्दा फाइदा नहुने भएपछि उनले एक महिनामै पेसा बदले । कसैले उनलाई सुनाइदियो, अगरबत्ती बनाएर बेच्न सके फाइदा छ ।

उनले अनेकतिर धाएर अगरबत्ती बनाउन सिके । अस्ट सुगन्धको धूलो किने, घरमै बाँसको सिन्का बनाए । मग–मग बास्ना आउने अगरबत्ती बनाएर बेच्न हिँडे । सुगन्धको यो व्यापारले पनि उनको मनमा सुवास फैलिएन । उनले सुनाए, ‘अगरबत्तीको व्यापार पनि मैनबत्ती जस्तै भयो निभ्यो ।’
एक समय उनले चाबहिल चोकको सडक छेउमा खुद्रा व्यापार गरे । भुइँमा फिँजाएर नेलकटर, पर्स जस्ता सामान बेच्न थाले । तर यो इलमले पनि उनको चित्त बुझेन । एउटा घटनापछि त उनको मन मरिहाल्यो । एक ग्राहकले दृष्टिविहीन भएकैले अलिक हेपेर व्यवहार गरे । उनले सुनाए, ‘मैले पर्सको ७० रुपैयाँ भनें तर त्यो मान्छे ३० रुपैयाँ थमाएर बाटो लाग्यो ।’ साँवा रकमभन्दा थोरै पैसा र अपमान दिएर हिँडेको ग्राहकको व्यवहार सम्झेर मन रोयो । उनले भने, ‘त्यही दिनपछि मैले चट्टै काम छाडें ।’
व्यापारबाट फलिफाप नभएपछि उनले आफूभित्र हुर्किरहेका संगीतको भोक सम्झे । दृष्टिविहीनका निम्ति काम गर्ने विभिन्न गैरसरकारी संस्थाको सम्पर्कमा पुगे । पदमले सुनाए, ‘अन्धा–अपांग सीप विकास तालिम केन्द्रमा गितार बजाउन सिकें । परिलक्षित परियोजनामार्फत अक्टाप्याड बजाउन सिके ।’ मिनु वाइवाले गीत गाउन र सन्देशकुमार डंगोलले गितार बजाउन मात्रै सिकाएनन्, उनीभित्र आत्मविश्वास पनि भरिदिए । त्यही बलका भरमा उनले दोहोरी साँझमा जागिर पाए ।
पदमको काम मध्यरातमा सकिन्छ । ‘सुर र तालको भावमा डुबेर अक्टाप्याड बजाउँदा त समय मिलिक्कै गइहाल्छ,’ उनले भने, ‘सुर र ताल पक्रेर भाका निकाल्ने गायक पर्‍यो भने मजा नै बेग्लै हुन्छ । सुरताल नमिलाई गाउने मान्छे पर्‍यो भने छटपटी हुन्छ ।’
दोहोरीमा अनेकथरी ग्राहक आउँछन् । कोहीले मन परेको गीत अफर गर्छन् र गीत मन परे टिप्स थमाइदिन्छन् । कोही मदिराको तालमा उत्ताल हुन्छन् र डाङडुङमै उत्रिन्छन् । ‘हो हल्ला र डाङडुङ चल्यो भने म स्टेजको एक कुनामा जीउ जोगाउन बस्छु,’ उनले सुनाए । उनले दोहोरी साँझभित्र बेलाबखत हुने यस्तो झगडाबाट आफूले कहिल्यै मार खानु नपरेको बताए ।
अरू कर्मचारीसँगै गाडी चढेर घर फर्कंदा कम्तीमा १ बजिसक्छ । सानो खाटमा कोल्टो परेर सुतिरहेका पत्नी र छोरा अनि छेवैको अर्को खाटमा सुतिरहेका पक्षघातले थलिएका बाबुको निद्रा बिग्रेला भनेर उनी लुसुक्क कोठाभित्र छिर्छन् । उनले सुनाए, ‘पल्टिनेबित्तिकै निद्रा पर्दैन । निदाउँदा कहिले २ बज्छ । कहिले त ३ नै ।’
किस्ता–किस्ता गरेर निद्रा पुर्‍याउनुपर्ने बाध्यता पदमका निम्ति आदत भएको छ । बिहानको खाना बनाउने, छोरालाई स्कुल पुर्‍याउने र बाबुलाई खाना खुवाउने जिम्मेवारी उनकै काँधमा छ । त्यसैले उनी पहिलो किस्ताको निद्राबाट ७ नबज्दै ब्युँझिसक्छन् । उनी ब्युँझिसक्दा उनकी पत्नी सुजाता घरबाट निस्किसकेकी हुन्छिन् । सुजाता सडक किनारमा बसेर गीत गाउँछिन् । आफ्ना साथीहरूसँग दिनभर अनेक ठाउँ चहार्दै गीत गाएर र भागमा परेको केही सय रुपैयाँ जतनले बोकेर सुजाता ३–४ बजे घर फर्किन्छिन् । स्कुलबाट फर्केको छोरालाई खाजा बनाएर दिनु, ससुरालाई कोल्टे फेराइदिनु, भिजेको रहेछ भने ओछ्यान फेरिदिनु उनको बाँकी दिनको काम हो ।
छोरालाई स्कुल पुर्‍याएपछि र खाना खाएपछि पदम दोस्रो किस्ता सुत्छन् । दिन र रात पदमका निम्ति उस्तै हो । तर दिनको र रातको चरित्र उनी अनुभूति गर्छन् । उनले सुनाए, ‘रातिको निद्राजस्तो दिउँसोको हुन्नँ ।’ वर्षौंको अनिँदोले होला दृष्टि नभएको उनको आँखाबाट हिजोआज अलिक बढी नै पानी बगिरहन्छ । त्यो आँसु नै पो हो कि ? उनले खुट्याएका छैनन् । उनले भने, ‘यो आँखा पनि कस्तो । काम गरेर खाने मान्छेलाई त दुःख नदिनु नि !’
जीवनमा दुःख छ तर पदम निराशाको स्वर सुस्काउँदैनन् । उनले भने, ‘आँखा देख्दैमा सुखी भइन्छ भन्नु पनि बेकार नै हो । के था आँखा देख्या भए हामी पनि चोरडाँका हुन्थेम् कि ।’ उनले दृष्टि भएकाहरू कैयन्ले नै इमानजमान बिर्सेको प्रसंग झिके र भने, ‘यस्तो भए यस्तो हुन्थ्यो भन्ने सब मन बुझाउने कुरा हो । आफूसँग जे छ त्यसैमा सन्तोष मान्नुपर्छ ।’ आफू बाँचेको समयलाई माया गरेर खुसी हुनुपर्छ भनी सोच्ने पदमले आफूलाई तारादेवीको स्वरमा रहेको ‘सोचेजस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन’ गीत औधी मन पर्ने सुनाए । अनि भने, ‘मान्छेको मन जति भए पनि हुन्न । चित्त बुझायो भने जे छ त्यसैमा खुसी मिल्छ ।’
दोहोरीको कमाइ र पत्नीको गायकीको कमाइले उनलाई छोरा पढाउन, बिरामी बाबुको उपचार गर्न र घरको गर्जो टार्न पुगेको छ । बचतको अनेकन थोपा सँगालेर उनले गितार, ड्रम, २ वटा हार्मोनियम र ४ वटा मादल जोडेका छन् । अब घरखर्चभन्दा पर उनको एउटा सपना छ, आफैंले संगीत तालिम केन्द्र खोल्ने । उनले भने, ‘सोचेजस्तो भयो भने काम लाग्छ भनेर वाद्य सामग्री जोडिराख्या छु ।’
दम्पती नै पूर्ण दृष्टिविहीन भए पनि उनीहरूको जीवनको लय मिलेको छ । तर बेला–बेला अचानक घट्ने घटनाले जीवनको लय बिथोलिदिन्छ । २०७१ साउन २५ को बिहान त्यस्तै भयो । खाना खाइवरि टुसुक्क बस्न आँटेकै बेला बाबुको होस गुम भयो र उनी ढलिहाले । उनले छरछिमेकको सहयोग मागेर बाबुलाई अस्पताल पुर्‍याए । बुबाको होस फर्कियो तर उनी पूरै तग्रिएनन् । चिकित्सकले उनलाई पक्षघात भएको निर्क्योल गरे ।
आमा छउन्जेल बिरामी बाबुको स्याहार जेनतेन चलेकै थियो । दमको रोगले थलिएकी आमा गत साल कात्तिकमा बितेपछि उनको दिनचर्या झनै खलबलियो । तैपनि उनी समस्यालाई हल्का रूपमा लिन्छन् । त्यसको गर्दा मन भारी हँॅुदैन भन्ने उनको बुझाइ छ । मन नै भारी भएपछि आफैंमाथि भार परेजस्तो हुन्छ रे । उनले सुनाए, ‘सम्झे समस्या, नसम्झे के न के के ?’
उनलाई कहिल्यै घाम नछिर्ने र उज्यालो पनि दिक्क मान्दै छिरेझैं लाग्ने झुपडी, ओसिलो गल्ली र सानो चोक नै सबैभन्दा प्यारो लाग्छ । भने, ‘यो चोकमा आएपछि लाग्छ, कुकुरले पनि सजिलै मेरो डेरा देखाइदिन्छ ।’
काठमाडौंका गल्ली र गल्छेडालाई जसरी पदम अनेकन ध्वनि र तालका आधारमा चिन्छन्, त्यसैगरी चिन्दैनन् दृष्टिविहीन २३ वर्षीय लीलाराज ताम्राकारले । लीलाले सुन्धाराकै केएसएन दोहोरी साँझमा गाउने र मादल बजाउने काम सुरु गरेको केही साता मात्रै भयो । काठमाडौंका गल्लीमा कसरी हराइन्छ, कसरी झमेलामा परिन्छ भन्ने अनुभव उनले गरिसकेका छैनन् ।
लीला अर्घाखाँचीको सन्धिखर्कबाट सपना बोकेर काठमाडौं छिरेको केही महिना मात्र भयो । पेप्सीकोलाको डेरामा उनी एक्लै बस्न थालेको पनि तीन महिना पुगेको छैन । स्नातक तहको पढाइ सकेपछि सहरमा केही गर्न सकिएला भनेर उनी यता हान्निएका हुन् । उनका बा र आमालाई भने दृष्टिविहीन छोराले काठमाडौंमा दुःख पाउला, गल्ली र गल्छेडा पहिल्याउन नसकेर अलमलिएला भन्नै मात्रै पीर लाग्छ । उनले सुनाए, ‘त्यही भएर पनि मैले साथीसँग बस्या छु भनेर घरलाई ढाँटिरा’छु ।’
लीला पनि जन्मजात दृष्टिविहीन होइनन् । उनलाई बुबाले सुनाएअनुसार तीन वर्षको उमेरमा उनी बिमार परे । त्यही तोडले उनको दृष्टि खोस्यो । तर उनलाई त्यो कस्तो बिमार थियो भन्ने मात्रै होइन, त्यतिबेला आँखाले देखेको पनि ख्याल छैन ।
दृष्टि नभए पनि पढ्न सके छोराले गरिखाला भन्ने बुझेरै उनका बाबुले उनलाई स्कुल हालिदिए । सुनेकै भरमा ४ कक्षासम्म पढेपछि मात्रै ब्रेल छाम्न पाए । अनेक दुःखको लम्मेतान बाटो हिँडेर स्नातक पढेपछि भने लीलाको मन गाउँमा अडिएन । उनी भविष्य अज्माउन राजधानी छिरे ।
उनले सुनाए, ‘यहाँ त बाटो पहिल्याउन महिनौं लाग्दो रै’छ । हरेक चोकमा हराइँदो र’छ ।’ तीन महिना बितिसक्दा पनि उनले डेरा छिर्ने चोक पहिल्याउन सकेका छैनन् । उनले सुनाए, ‘जहिल्यै झुक्किन्छु । कहिले कहाँ पुग्छु, कहिले कहाँ ।’
केही साथीले सम्पर्क सूत्र खोजिदिएपछि उनले दोहोरी साँझमा जागिर पाएका हुन् । अहिले उनी नेपाल नेत्रहीन संघले प्रदान गरेको निःशुल्क कम्प्युटर कक्षा सकेर दिउँसो डेरा फर्किन्छन् । केही घण्टा आराम गर्छन् अनि साँझ नढल्किँदै सुन्धाराको दोहोरी साँझ पुग्छन् । लीला काम गर्ने दोहोरी साँझमा अक्टाप्याड बजाउने, किबोर्डमा औंला चलाउने र मादल बजाउने साथीहरू पनि दृष्टिविहीन नै छन् । उनले भने, ‘आफूजस्तै साथीहरू भएपछि काम गर्न पनि सहज हुँदो रहेछ ।’
गाउन र बजाउन उनले कतैबाट सिकेका होइनन् । युट्युब सुनेरै गीतको सुर र तालबारे केही थाहा पाएका हुन् । यही आत्मबलका भरमा उनी दोहोरीमा गाउँछन् र परिआए मादल पनि बजाउँछन् । दुई वर्षअघि उनले ‘कोदाली खनेर’ र ‘आठ महिनाअघि कसम खाम्ला पिरती’ बोलको गीत रेकर्ड गराए । तर उनी आफ्नो कामबाट उति सन्तुष्ट छैनन् । ‘अझै राम्रो गीत गाउने धोको छ,’ उनले भने ।
सहर मस्त सुतेपछि र दोहोरी साँझका ग्राहक घरतिर हिँडेपछि उनी डेरा फर्किन्छन् । चिसो रातमा छामछाम छुमछुम गर्दै ओछ्यानसम्म पुग्छन् ।

दोहोरी साँझमा कति छन् दृष्टिविहीन ?
दोहोरी साँझमा गीत संगीतको काम गर्ने कति दृष्टिविहीन छन् भन्ने तथ्यांक कसैसँग छैन । लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठका अनुसार संघमा देशभरका ११८ दोहोरी आबद्ध छन् । तर तिनमा ठ्याक्कै कति दृष्टिविहीनले काम गर्छन् भन्ने उनलाई पनि थाहा छैन । श्रेष्ठले भने, ‘सयभन्दा बढी होलान् कि ?’
श्रेष्ठ ठमेलस्थित नगरकोट दोहोरी साँझका सञ्चालक पनि हुन् । उनको अनुभवमा दृष्टिविहीनहरू ठीक समयमा कार्यस्थल आउँछन्, लफडा गर्दैनन्, अनुशासित रूपमा काम गर्छन् । त्यसैले दोहोरी साँझ सञ्चालकहरूको रोजाइमा उनीहरू पर्ने गरेका छन् । ‘दृष्टिविहीनले गीत गाइरहेछ, बजाइरहेछ भन्ने थाहा पाएपछि ग्राहकले पनि राम्रो मान्छन्,’ उनले भने ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीका अनुसार दोहोरी साँझमा दृष्टिविहीनको संख्या बढ्दै गएको छ । उनले काठमाडौंमा मात्रै नभएर पोखराका कैयन् दोहोरी साँझमा पनि दृष्टिविहीनले काम गर्ने गरेको बताए । ‘गाउनेभन्दा वाद्यवादनमा संलग्न दृष्टिविहीन धेरै छन्,’ उनले भने, ‘राम्रो तालिम र विषयगत सीप सिकाउने हो अझ धेरै दृष्टिविहीनले दोहोरी साँझमा जागिर पाउँछन् ।’

Page 2
समाचार

'लोकप्रियता सरकारको प्राथमिकता होइन'

- कान्तिपुर संवाददाता

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा जहिल्यै सरकारको बचाउमा उत्रन्छन् । विरोधीमाथि खनिने शैलीका कारण उनी प्रधानमन्त्रीका विश्वास पात्र मानिन्छन् । मन्त्री बाँस्कोटासँग कान्तिपुरकी बबिता शर्माले गरेको कुराकानीको सम्पादित अंश :

सरकारका दुई वर्ष कस्तो रह्यो ?
सरकारका कामको एकमुस्ट समीक्षा गर्न कठिन हुन्छ । हरेक मन्त्रालयका कामको सूचीभित्र सरकारको समीक्षा खोज्नुपर्छ । केपी ओलीको नेतृत्वमा सरकार गठन हुँदा व्यवस्थापनको संक्रमणकाल चलिरहेको थियो । हामीसँग नीतिगत र कानुनी ढंगले संस्थागत संरचनाहरूको निर्माण, व्यवस्थापन र परिचालनको चुनौती थियो । एउटा राजनीतिक व्यवस्थाको आधारमा बनेको समाज, त्यसका कानुन, संरचनाबाट लोकतान्त्रिक संघीय गणतन्त्रको ढाँचामा रूपान्तरण गर्नका निम्ति जुन सकस बेहोर्नुपर्छ, हामीले त्यो बेहोर्‍यौं । अधिकतर कानुन बदल्नुपर्‍यो ।
पहिलो वर्षलाई आधार वर्ष भनेका थियौं । त्यसमा सफलता हासिल गर्‍यौं । दुई तिहाइको सरकारसँग जनताको अपेक्षा तीव्र हुन्छ । सपना हामी आफैंले बाँडेका हौं, निदाएर हैन जानाजान । त्यसतर्फ जान हाम्रा ‘पेरियोडिक’ योजना थिए । ती योजना समयमा बुझाउन सकेनौं । त्यसले केही आलोचना पनि भयो । तर आमरूपमा सफल भएका छौं ।


सरकारलाई १०० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?
१०० नै दिन्छु । हामी कतै पनि चुकेका छैनौं । हरेक वर्ष अंक दिइरहनु पर्दैन । पाँच वर्षपछि नेपाली जनताले कति अंक दिनुपर्ने हो, दिन्छन्, हामी त्यो कुरामा सचेत छौं । केही कुरामा ढिलाइ भएको हो । चुक्नु र ढिलाइ हुनु फरक कुरा हो । यो सरकार पाँच वर्षका लागि बनेको हो । लोकप्रियता यो सरकारको प्राथमिकता होइन र थिएन । सरकार आधारभूत परिवर्तनतर्फ अगाडि बढ्नुपर्थ्यो, बढ्यौं ।


सरकारले के राम्रो काम गर्‍यो ?
सूची निकै लामो छ । हामी दुई वर्ष पुगेको सन्दर्भमा किताब निकाल्दै छौं । हामी कसैको आँखीझ्यालबाट हैन, खुला आकाशबाट दुनियाँसँग सम्बन्ध स्थापित गर्न लालायित थियौं, उत्सुक थियौं । सचेतपूर्वक, हाम्रा मूल्य मान्यता र पद्धति छाडेर हैन, ‘डेमोक्रेडिट फ्रेम’ बाट पञ्चशीलको सिद्धान्तमार्फत जान चाहेका थियौं, त्यसमा सफल भयौं ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण करिब अढाई दशकपछिको ठूलो सफलता हो । हामीले बिमस्टेक सम्मेलन आयोजना गर्‍यौं । सगरमाथा संवाद गर्दै छौं । हामी डाभोस (विश्व आर्थिक मञ्चको बैठक) मा पुग्यौं । यी सबै कुराले अन्तर्राष्ट्रिय रूपमा नेपाल सुनिने भएको छ ।
वैदेशिक सम्बन्ध नयाँ उचाइमा पुगेको छ । पर्यटनको क्षेत्रमा थुप्रै देशसँग सिधा हवाई सम्झौता गरेका छौं । भ्रष्टाचारविरुद्ध कदम चालेका छौं । भ्रष्टाचारी समातिएका छन्, मुद्दा चलेका छन् । रंगेहात पक्राउ परेका छन् । शान्ति सुरक्षामा सफलता हासिल गरेका छौं, अपवादबाहेक । रेलको ट्र्याक बनिरहेको छ । पेट्रोलियम पाइपलाइन बन्यो । २३६ पुल एक वर्षमा बनेका छन् । ७७ वटै जिल्लाका मुख्य–मुख्य सहरमा ‘फोरजी’ सेवा पुर्‍यायौं ।


जनताले प्रत्यक्ष महसुस गर्ने काम त भएका छैनन् नि ?
जनताले प्रत्यक्ष महसुस त्यस दिन गर्छन्, जुन दिन ग्यास चुलो बाल्न छाड्छन् र इन्डक्सन चुलो प्रयोग गर्छन् ।


दुई वर्षमा गरिएका सबै ठूला निर्णय विवादमा तानिए नि ?
विवादमा आएका हैनन्, ल्याइएको हो । हामीले के खराब काम गरेका छौं र ? तपाईंले गुठी विधेयकको कुरा गर्नुभएको होला, हामी गरिबीविरुद्ध लड्ने कि नलड्ने ? लड्ने हो भने जमिनमाथि नागरिकको पहुँच पुर्‍याउनु राज्यको दायित्व हो कि होइन ? तथ्यमा नगई सरकारविरुद्ध माहोल तताउने काम गरियो । एनजीओ, आईएनजीओ र त्यसमा बहकिने कथित के–के वादीहरू सरकारविरुद्ध लागे । काम गर्दा गल्ती भएका होलान् । तर नियतवश भएका छैनन् । भ्रष्टाचार भएका छैनन् । सत्ताको दुरुपयोग भएको छैन । पूर्वाग्रह साँधेर कसैमाथि मुद्दा चलाइएको छैन ।
राम्रा कुरा पनि देख्न नसक्ने ? कोरोना भाइरस फैलिएको चीनको वुहान सहरबाट नेपाली विद्यार्थी ल्याउने निर्णय गरियो । हाम्रा मिडियाले खर्च कति लाग्ने भयो भनेर प्रश्न गर्छन् । मैले भन्नैपर्छ, मिडियाको ‘एटिच्युड’ आमरूपमा कम्युनिस्ट पार्टीविरोधी देखापर्‍यो । उहाँहरूले तथ्यको कसीमा सरकारको मापन गर्नुपर्थ्यो ।


यति समूहलाई जग्गा दिने निर्णयमा तपाईंहरूको कमजोरी भएको होइन ?
यति होल्डिङ्सभन्दा अगाडि किन काठमाडौं प्लाजाको कुरा उठ्दैन ? त्यो कतिमा दिएको ? नबिल बैंक बसेको बिल्डिङ कतिमा दिएको र कहिले दिएको ? कति हो त्यसको मूल्य ? यति र त्यसको तुलना गर्नुपर्‍यो ।
दरबारमार्गको जग्गा यति समूहलाई बेचेको हो त ? हो भने भन्नुपर्‍यो नि । ३० वर्षका लागि लिजमा दिएको हो । तथ्यमा किन जाँदैन मान्छे, खालि एकोहोरो शंखधुन फुकेर के के न गरेजस्तो । यो पूर्वाग्रह मात्रै हो । २२ हजार रोपनी यति समूहलाई दियो भन्ने बेकारको कुरा हो ।


मिडिया काउन्सिलदेखि मानव अधिकार विधेयकसम्म विवादमा तानिए । विपक्षी कांग्रेसले त सरकार अधिनायकवादी भयो भन्ने आरोप लगाइरहेको
छ नि ?
फाँसीवादी सर्वसत्तावादी अभ्यास गरेर आएको कांग्रेसले चुनावबाट सत्ता गुमाएको झोंकमा के भन्छ, म त्यसको हिसाब गर्दिनँ । लोकतन्त्रको ठेकेदार कांग्रेस हो ? अहिले हामी बन्दुक पड्काएर आएको हो र सत्तामा ? जनताले रोजेका हैनन् ?
मिडिया काउन्सिल विधेयक सर्वसम्मत पास भयो त । त्यहाँ कांग्रेस थिएन ?
सरकारले विपक्षीलाई किन विश्वासमा लिन सकेन ?
विपक्षी आफैं पनि आउनुपर्छ । भ्रष्टाचारविरुद्ध मुद्दा चलाएको छ, फलानालाई किन ल्याएन भन्छ । भ्रष्टाचारमा समन्यायिक, समानुपातिक सिद्धान्तको माग गरेको हो कांग्रेसले ? बालुवाटार जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलायो । माधवकुमार नेपाल, विष्णु पौडेल, बाबुराम भट्टराई ल्याएन भनेर समानुपातिक प्रतिनिधित्वको माग गर्न हुन्छ ? जसले भ्रष्टाचार गरेको, त्यो आउँछ ।


सरकारकै योजनामा अख्तियारले मुद्दा चलाएको कांग्रेसको आरोप छ नि ?
अख्तियारले छानबिन गरेर यो कदम चालेको हो, अदालतले निर्णय गर्ला । वाइडबडी प्रकारणको छानबिन बाहिर आउँदा को–को रुँदै हिँड्ने अब ? पहिल्यै सूची चाहियो । कसलाई ल्याउनुपर्‍यो, कसलाई नल्याउनु ? सूची लगेर अख्तियार, सीआईबी, अदालतमा पहिल्यै बुझाउनुपर्‍यो ।


सरकार सोसल मिडियासँग डराएर कस्ने नीतिमा लागेको हो ?
सरकार कोहीसँग डराउँदैन । सरकार गलत चिजसँग मात्रै डराउँछ । जनताविरोधी काम हुन थाले, राष्ट्रघाती काम गर्न खोजियो भने सरकार डराउँछ ।
सरकारका निर्णयमा पार्टीभित्रैबाट बढी विरोध हुन्छ । पार्टी र सरकारबीच किन तालमेल भएन ?
पार्टीभित्र गुट हुन्छन् । अहिले गुटहरूको सलबलावट हो । आफ्नै पार्टीको विरोध गरिरहनुपर्नेले बुझ्नुपर्छ, आउने चुनावमा कुन पार्टीबाट टिकट लिएर जित्ने विचार छ ?
उहाँहरूले चरी खुइल्याएजस्तो खुइल्याउँदै जानुभयो भने पछि विरोधीले प्रचार नै गर्नुपर्दैन । एमसीसी सम्झौता अध्ययनका लागि झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनेको छ । अनुमति दिँदा के गरेर दिनुभयो, के गरेर टुंगाउनुहुन्छ त्यो उहाँले जान्नुपर्‍यो । एमसीसी सम्झौताको विषयमा राष्ट्रघात भयो भनियो । राष्ट्रघाती रहेनछ भने हिजो बोलेका कुरा आज आफैंले खण्डित गर्नुपर्दा के हुन्छ ? पार्टीमा नाम चलेका दुई–चार नेताको बुर्कुसीभित्र सरकार चल्ने, देश चल्ने, समाज चल्ने हुन्छ त ?
पार्टी र सरकारबीच समन्वयको अभाव भयो भनेर तपाईंकै पार्टीका नेताहरूले भन्ने गर्नुभएको छ । किन समन्वय हुन सकेन ?
यसअघि पाँचपटक मन्त्री भएकाहरू सरकारविरुद्ध उफ्रिएका छन् । आफू मन्त्री हुँदा कुन पहाड लडाएका थिए ?

Page 3
समाचार

संसद्मा बोल्नै धक

संसद्मा मात्रै होइन, समितिहरुमा पनि कतिपय सांसदले आफ्ना भनाइ प्रस्टसँग राख्न सकेका छैनन् । कतिपय बोल्दै बोल्दैनन् ।
- कान्तिपुर संवाददाता

(काठमाडौं) - गत भदौ २५ मा समानुपातिक सांसद विमला विश्वकर्माले प्रतिनिधिसभाको शून्य समयमा बोल्ने कुरा टिपोट गरेकी थिइन् । बोल्दाबोल्दै समय सकियो । जति बोलिन्, त्यसबाट उनले के बोल्न खोजेकी थिइन् भन्ने अनुमान मात्र गर्न सकिन्छ ।
- भदौ ५ मा प्रतिनिधिसभाको शून्य समयमै सांसद कुमारी मेचे नोट हेरेर बोल्न थालेकी थिइन् । सुरुमै अलमलिइन् । अकमकिँदै बोल्दा समय र विषयवस्तुमा ध्यान दिन सकिनन् । बोलिनसक्दै समय सकियो ।
- साउन २१ मा सांसद पूर्णकुमारी सुवेदीले पनि शून्य समयमा बोल्दाबोल्दै समय सकिएको थियो ।

यस्ता घटनालाई लिएर महिला सांसदले बोल्न नजानेको र राज्यको समानुपातिक समावेशी प्रणाली प्रभावकारी नभएको भनी सामाजिक सञ्जालमा टीकाटिप्पणी भए । सांसद सुजाता परियारले संसद् भवनमा ‘एसी’ नचलेको बारे बोल्दा आफ्नै सुखसुविधाका विषयमा मात्र बोलेको भनी आलोचना भयो ।
निर्वाचित भएपछि संसद्का चारवटा अधिवेशन भइसक्दा पनि कतिपय सांसदले निर्धक्क र स्पष्टसँग आफ्ना भनाइ राख्न सकेका छैनन् । ‘टिपोट गरेका कुरा सबै भनिसक्छु भनेर थालिएको हुन्छ, अरू बेला कुरा गर्दा लामो फेहरिस्त सुनाउने बानी परेकाले संसद्मा सीमित समयमा सबै कुरा बताउन खोज्दा मूल विषय ओझेल पर्दोरहेछ,’ सांसद विमला विश्वकर्मा भन्छिन् । सांसद सुवेदी भन्छिन्, ‘एक मिनेटभित्र कुरा राख्दा समयको ख्याल गर्न समस्या
हुने रहेछ ।’
सांसद मेचेको समस्या अर्कै खालको छ । उनी भन्छिन्, ‘सानामा लेखपढ गर्न पाइनँ । संसद्मा कुनै कुरा राख्नुअघि कोठामा धेरैपल्ट पढ्छु, भदौ ५ मा संसद्मा बोल्न तयार पारेको टिपोट कोठामै छुटेछ, साथीको सहयोगमा हतारहतार टिपोट गरेको कुरा पढ्दा अलमलिएँ ।’ संसद्मा बोल्न सिक्दै गरेको उनी बताउँछिन् । कान्छी छोरीले स्वकीय सचिवका रूपमा उनलाई सहयोग गर्दै आएकी छन् । मेचे संसद्मा दोस्रो र चौथो अधिवेशनका शून्य समयमा चारपटक मात्रै बोलेकी थिइन् ।
सांसद परियारले संसद्मा आवश्यक कुरा नै उठाउने गरेको दाबी गरिन् । ‘हामीले चाहिने कुरा नै उठाइरहेका हुन्छौं तर सोसल मिडियामा त्यसलाई उडाउने हिसाबले प्रचार गर्ने गरिएको छ,’ उनले भनिन् ।
संसद्मा मात्रै होइन, मिनी संसद् मानिने संसदीय समितिमा पनि कतिपय सांसदले आफ्ना भनाइ प्रस्टसँग राख्न सकेका छैनन् । कतिपय बोल्दै बोल्दैनन् । जस्तै ः प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकी सदस्य कुमारी मेचे प्रायः सबै बैठकमा सहभागी हुन्छिन् । बैठक हलको अन्तिम लहरमा चुपचाप बस्छिन् । समितिका अरू सदस्य र सरोकारवालाले छलफल गर्छन् । समिति सभापति निरुदेवी पाल बैठकको निर्णय सुनाउँछिन् । मेचे सुन्छिन् । समर्थनमा ताली पिट्छिन् । घर फर्किन्छिन् । ‘अरू बोलिरहेकै हुन्छन्, के थपिरहने भन्ने लाग्छ,’ उनले भनिन् ।
दुई वर्षमा समितिका ४३ वटा बैठकमा उनी सहभागी भइन् । महिला, बालबालिका, ज्येष्ठ नागरिक, संवैधानिक आयोगलगायत विषयमा छलफल भए । कुरा खोतल्दै जाँदा उनले सुनाइन्, ‘म मेचे समुदायकी अगुवा हुँ, मेरो समुदायले मबाट धेरै अपेक्षा गरेको छ ।’ आफूले प्रतिनिधित्व गर्ने समुदायका विषयमा कुरा नउठेकाले मौन बस्ने गरेको उनले बताइन् ।
०६८ सालको जनगणनाअनुसार मेचे समुदायको जनसंख्या करिब ५ हजार छ । उनीहरू मूलतः झापामा छन् । छिटफुट मोरङमा पनि छन् । उनीहरू धेरैको आफ्नो स्वामित्वको जग्गाजमिन छैन । उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी पाएका छैनन् । ‘हाम्रो समुदायलाई सिलाइकटाइ, कपडा बुनाइका तालिम, कृषि व्यवसायमा अनुदान चाहिएको छ, धेरैजसो ऐलानी जग्गामा बस्छन्, व्यवस्थित घर र खेती चाहिएको छ,’ उनले भनिन् । नीति बनाउने, लागू गर्ने र अनुगमन गर्ने थलोमा यी मुद्दा सामान्य लागे पनि मेचे समुदायलाई महत्त्वपूर्ण छन् । समिति बैठकमा यी विषयमा कहिले छलफल होला भनेर उनी पर्खेर बसेकी छन् । ‘अहिलेसम्म राष्ट्रियस्तरमा समग्र विषयमा छलफल भएको छ,’ उनले भनिन्, ‘अबका बैठकमा हाम्रो समुदायको पालो आउँछ भनेर केही भनेकी छैनँ, पालो आउला नि !’

कैलालीकी समानुपातिक सांसद लक्ष्मीकुमारी चौधरी राज्यव्यवस्था तथा सुशासन समितिमा सदस्य छिन् । महत्त्वपूर्ण समितिमा रहेर पनि प्रभावकारी भूमिका खेल्न नसकेको महसुस उनले गरेकी छन् । उनी पनि समितिको बैठकमा कमै बोल्नेभित्र पर्छिन् । ‘एक त विधेयक पढ्न गाह्रो लाग्छ, बोल्दा पनि बिगारिएला भन्ने डर हुन्छ,’ उनले भनिन् ।
समितिमा राष्ट्रिय महत्त्वको विषयलाई बढी स्थान दिइन्छ । लक्ष्मीको जिल्ला भारतीय सिमानासँग जोडिएको छ । सुदूरपश्चिमका करिब ४० हजार मानिस बर्सेनि रोजगारीका सिलसिलामा नेपाल–भारत जाउआउ गर्छन् । उनीहरूले सीमामा प्रहरीको दुर्व्यवहार भोग्नुपर्छ । समितिले देशभरका सीमा सुरक्षा सम्बन्धमा राखेका बैठकमा यस विषयमा छलफल भएको थियो । बैठकमा लक्ष्मीले नेपालीले पाएको दुःखबारे बताएकी थिइन् । त्यसपछि अवस्था केही मात्रामा सुध्रेको भए पनि पर्याप्त सुधार भएको छैन । यसबारे समितिको विस्तृत बैठक बस्न सके समस्या सुल्झने आशा उनले गरेकी छन् ।
समितिमा आफ्ना कुरा राख्दा अरूले खिसिट्युरी गर्लान् भन्ने डर उनलाई छ । ‘संसदीय अभ्यासबारे बेला–बेला प्रशिक्षण दिए आफ्ना कुरा खुलेर भन्न सकिन्छ कि जस्तो लाग्छ, त्यसो नहुँदा आफ्ना कुरा राख्नका लागि जति समय पाए पनि बोल्न धकाउनुपर्दो रहेछ,’ उनले भनिन् । सांसदहरूले आफ्नो क्षेत्रका विषयमा मात्र नभएर धेरै विषयमा छलफल गर्नुपर्छ । आफ्नो ठाउँ र समुदायको विषय आउँदा मात्रै बोल्छु भन्न मिल्दैन ।
विभिन्न पृष्ठभूमि र क्षमता भएका सांसदलाई संसद्मा प्रभावकारी भूमिका खेल्न सक्ने बनाउन संघीय संसद् सचिवालयले संसदीय प्रक्रिया र अभ्यासबारे अन्तरक्रिया गर्दै आएको छ । सचिवालयले ०७५ जेठ २३ र २४ मा संसदीय प्रक्रियाबारे र ०७६ भदौ १० मा संसदीय अभ्यासबारे अन्तरक्रिया गरेको थियो । सचिवालयका उपसचिव लक्ष्मण अर्यालका अनुसार त्यस अवसरमा शून्य र विशेष समयमा आफ्ना विचार प्रस्तुत गर्ने शैली, कानुन निर्माणका विभिन्न चरण, संसद्मा प्रश्नोत्तरलगायत विषयमा सांसदलाई प्रशिक्षण दिइएको थियो ।
सांसदहरू यतिले पर्याप्त नभएको बताउँछन् । ‘महिनैपिच्छे छलफल र अन्तरक्रिया भयो भने अलि सजिलो हुन्थ्यो,’ कुमारीले भनिन् ।
सांसद विमला विश्वकर्माले संसद् सचिवालयले दुई पटक र नेकपा संसदीय दलले दुई–तीनपटक संसदीय गतिविधिबारे प्रशिक्षण गराएको बताइन् । ‘यसलाई अपुग भन्न पनि मिलेन तर सिकेर कहिल्यै सकिँदैन,’ उनले भनिन्, ‘सिकाउने काम निरन्तर भइदिए अझ सजिलो हुन्छ ।’
नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ सांसदहरूले आफ्नो अध्ययनको दायरा बढाउनुपर्ने बताउँछन् । ‘पार्टीको भर पर्ने, अर्काको भर पर्नेभन्दा आफैंले पनि अध्ययन गर्नुपर्‍यो, सांसदहरूलाई संसदीय गतिविधिमा सहयोग पुर्‍याउने कुरामा दलले सधैं सहयोग गरिरहन्छ,’ उनले भने । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण पनि सांसदहरूले आफैँ कोसिस गर्नुपर्ने बताउँछन् ।
समावेशीकरणको सिद्धान्तअनुसार सबै थरीको प्रतिनिधित्व गराउनका लागि कोटा प्रणाली मात्र पर्याप्त हुँदैन । समुदायका कम क्षमता भएका प्रतिनिधिलाई अवसर दिने, उनीहरूको क्षमता बढाउने काम पनि निरन्तर गर्नुपर्छ । अनुसन्धाता कैलाश राई भन्छिन्, ‘समावेशीकरण सहभागिताको इन्ट्री पोइन्ट हो, जोचाहिँ काममा अभ्यस्त भइसकेका हुँदैनन्, उनीहरूलाई अन्तरक्रियात्मक वातावरणमा सिकाइ हुनुपर्छ ।’ कोटाबाट आएकालाई सुरुमै वर्गीकरण गर्ने र अक्षम भन्ने मानसिकता हटाउनुपर्ने उनी बताउँछिन् ।

समाचार

सेनामा राजीनामा दिने बढे

६ महिनामै ४९ जना उच्च सैनिक अधिकारीले छाडे
- कान्तिपुर संवाददाता

(काठमाडौं) - नेपाली सेनाका उच्च तहका अधिकारीहरूले राजीनामा दिने क्रम बढेको छ । सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनदेखि पुससम्ममा मात्र ४९ जना उच्च अधिकारीहरूले राजीनामा दिएका छन् । रक्षा मन्त्रालयका अनुसार छोटो समयमा यति धेरै सैनिक उच्च पदाधिकारीहरूको राजीनामा जंगीअड्डाबाट स्वीकृतिका लागि मन्त्रालयमा आएको यो पहिलो पटक हो ।
राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, सेनानी, प्रमुख सेनानी, महासेनानी, सहायक रथीदेखि उपरथीसम्म रहेका छन् । प्राविधिक उपरथी सुधीर श्रेष्ठ तथा सहायक रथीद्वय जीत गुरुङ र अजय राईले केही समयअघि मात्र राजीनामा दिएका थिए । यस्तै, केही महासेनानीसहित अन्य अधिकृत तहका अधिकारीहरूले राजीनामासमेत गरेका छन् ।
तथ्यांकअनुसार साउनमा ४, भदौ र असोजमा १/१, कात्तिकमा १७, मंसिरमा १६, पुसमा १० जना सेनाका उच्च अधिकारीहरूले राजीनामा दिएका हुन् । अधिकतरले घरायसी कामलाई राजीनामा दिनुको कारण उल्लेख गरेका छन् । तर स्रोतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले चालेको कदममाथि असन्तुष्टि जनाउँदै राजीनामा दिन थालेका हुन् ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने संगठनमा माथि जाने बाटो सकिएकाले र अवकाशपछि अन्य ठाउँमा जागिर नपाउने हुनाले उनीहरूबाट राजीनामा आएको दाबी गरे । ‘संयुक्त राष्ट्रसंघलगायत अन्य संस्थाहरूबाट अवकाश पाएको भनेपछि जागिर पाइँदैन । राजीनामा दिएको भनेपछि भने जागिर पाउने सम्भावना हुन्छ,’ उनले भने । सेनाका अधिकृतस्तरका उच्च अधिकारीहरूले राजीनामा दिँदै हिँड्न थालेपछि नेतृत्वप्रति प्रश्न उठ्ने सेनाका एक अधिकारीले बताए । संगठन छाड्ने उच्च अधिकारीहरूले २०७४ भदौ २४ बाट थापाले नेतृत्व गरेसँगै चेन अफ कमान्डमा समस्या भएको अरोप लगाएका छन् । प्रधानसेनापति थापाले प्राविधिकतर्फका उच्च अधिकारीहरूलाई विश्वास नगरेको, नातावाद–कृपावादलाई निरन्तरता दिएको र संगठनको कामभन्दा पनि मिडियामा प्रचार गर्न केन्द्रित गरेको गुनासो बढेको छ ।
थापाले प्राविधिकतर्फको उच्च पदमा पुग्ने उपरथीको काम हेर्न इन्फेन्ट्रीतर्फका महासेनानी खटाएका छन् । जंगीअड्डाको केही समयअघि भएको एक बैठकमा एक प्राविधिक उपरथीले प्रधानसेनापति थापालाई प्राविधिकहरूलाई संगठनभित्र हेप्दै गए काम गर्न नसकिने बताएका थिए । ती अधिकारीले संगठनमा काम गर्ने वातावरण नभएको उल्लेख गरेका थिए ।
थापाले प्रधानसेनापति भएलगत्तै काठमाडौं–तराई द्रुतमार्गमा व्यापक भ्रष्टाचार भएको आशंकामा छानबिनसमेत गरेका थिए । उनले आन्तरिक रूपमा छानबिनसमेत गरे तर अन्त्यमा भ्रष्टाचार नभएको निचोड सेनाले निकालेको थियो । थापाले संगठनभित्रका अधिकांश काममा प्राविधिकका उच्च तहका पदाधिकारीहरूलाई भन्दा इन्फेन्ट्रीतर्फका तल्लो तहका पदाधिकारीहरूलाई नै जिम्मेवारी दिए । त्यसैले सेनाभित्रका अधिकांश प्राविधिक जनशक्ति प्रधानसेनापति थापाको कार्यशैलीदेखि असन्तुष्ट छ । यसले संगठनभित्र प्राविधिक सैनिक र इन्फेन्ट्रीबीच द्वन्द्व सुरु भएको स्रोतको भनाइ छ ।
प्रधानसेनापति थापाले ल्याएको ‘प्रधानसेनापतिसँग सिधा कुरा’ ले गण, गुल्म, बटालियनहरूमा नेतृत्व गर्न जानेको कमी भएको छ । ‘हाम्रो संगठन चेन अफ कमान्डमा चल्ने हो तर प्रधानसेनापति थापाले सिधै सिपाहीहरूसँग कुरा गर्न थालेपछि ती सिपाहीले गणपति, गुल्मपतिलाई नै मान्न छाडेका छन्,’ सैनिक स्रोतले भन्यो ।
थापाले बिनाकानुन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर नाटक गरेको पनि सैनिक अधिकारीहरूको भनाइ छ । थापाले संगठनभन्दा पनि आफूलाई बढी महत्त्व दिएको भन्दै महासेनानीहरूको घर–घरमा जर्नेलहरू भेला भएर चिन्ता व्यक्त गरेका छन् ।
थापाले संगठनको प्रक्रियाभन्दा पनि आफ्ना मान्छेलाई च्यापेर छड्के हान्न थालेपछि काम गर्ने वातावरण नभएको इन्फेन्ट्रीभित्रका जर्नेलहरूले पनि दुःखेसो व्यक्त गरेका छन् । सबैलाई समान रूपमा व्यवहार गर्ने बताउँदै आए पनि उनले सैनिक सचिवबाट उही स्तरका अधिकृतहरूको फरक–फरक समयमा बढुवा गर्ने र उही क्षमता भएका कोहीलाई माथि लाने र कसैलाई तलै छाडिदिने गरेको आरोप छ । ‘प्रधानसेनापतिले यसैगरी संगठनलाई अघि बढाउने हो भने अझै धेरै उच्च सैनिक अधिकारीहरूले राजीनामा दिने पक्का छ,’ सैनिक स्रोतले भन्यो ।

समाचार

क्षत्रीमाथि अनुसन्धान गर्न सिफारिस

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले अनियमितता गरी अकुत सम्पत्ति आर्जन गरेको विषयमा पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरेको छ । क्षत्रीले अनियमितता गरेको सम्बन्धमा उजुरी परेपछि अध्ययन गर्न गठित कार्यदलको सुझावका
आधारमा समितिले छानबिनका लागि सिफारिस गरेको हो ।
समितिको शुक्रबार बसेको बैठकले क्षत्रीमाथि भएको अनुसन्धान र त्यसको परिणामको विवरणबारे लिखित जानकारी गराउन अख्तियार र विभागलाई भनेको छ । प्रतिनिधिसभा सांसद रेनुका गुरुङले २०७५ भदौ २१ मा सेनाले गरेको अनियमितताको छानबिन गर्ने अधिकार अख्तियारलाई दिनुपर्ने सुझावसहितको उजुरी समितिमा गरेकी थिइन् । उनले सेनाले २०७४ फागुनमा जारी गरेको ‘विविध सेवा नियमावली’ मा उल्लेखित शैक्षिक योग्यताको मापदण्डलाई केही उच्च अधिकारीले आफूखुसी व्याख्या गरेको उल्लेख गरेकी थिइन् । उनले बहालवाला उच्च अधिकृतको सम्पत्ति छानबिन गर्न माग गरेकी थिइन् ।
समिति सदस्य दिलेन्द्रप्रसाद बडूका अनुसार भ्रष्टाचार र नीतिगत रूपमा देखिएका अनियमितताको सन्दर्भमा प्रश्न उठेकाले छानबिन जरुरी देखिएको हो ।
समितिले सेनामा समय–समयमा उब्जने गरेको कानुनी एवं नीतिगत विवादबारे छलफल गर्न रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, सेनाका कानुन हेर्ने अधिकृत र कानुन मन्त्रालयका अधिकारीलाई बोलाउने निर्णय गरेको छ । ‘सेनामा अनियमितता र संगठनभित्र शोषण भएको विषय किन आइरहन्छ भन्ने जिज्ञासा उठेको छ’, बडूले भने, ‘यसको निराकरण हुनुपर्छ भन्ने मान्यता हो ।’ ‘सेनालाई अख्तियार र सम्पत्ति शुद्धीकरणमा तान्न हुने/नहुने विषय गम्भीर भए पनि सार्वजनिक रूपमा उठेका विषयले निकास पाउनु जरुरी हुन्छ,’ उनले भने ।

Page 4
वाग्मती प्रदेश

महानगरको गाउँमा पानीको सास्ती

- कान्तिपुर संवाददाता

चितवन (कास)– भरतपुर महानगर–२९ मा पर्ने कमलपुर गाउँमा मोटर गुड्ने राम्रो बाटो छैन । विद्युत सेवा त छ तर बिग्रियो भने बन्न एक साता लाग्छ । चितवनका नौ वटा पहाडी गाविसमध्ये एउटा कबिलास थियो । अन्य आठ वटा गाविस अहिले कुनै गाउँपालिका र कुनै नगरपालिका बने । तर सिंगो कबिलास भरतपुर महानगरको २९ नम्बर वडा बन्यो ।
महानगरका बासिन्दा बने पनि कमलपुरवासीका कष्ट यथावत् छन् । ‘अरू दुःख त जन्मेदेखि भोग्दै आएको हो । राम्रो सडक र भरपर्दो बिजुली नभए पनि हामीलाई ठूलो कुरा भएन,’ ७१ वर्षीय आकबहादुर गुरुङले भने, ‘अहिले त पानी नै खान नपाइएला भन्ने भयो ।’ गाउँमा ३६ घरधुरी छ । एउटामात्र धारा भएकाले पालो कुरेर पानी थाप्नुपर्छ । चैत लागेपछि धारा सुक्ने र खानेपानी लिन भाँडा बोकेर खोला झर्नुपर्ने बाध्यता गाउँमा सुरु हुन्छ । ‘तल खोल्सो छ । जसलाई हामी ठूलो खोला भन्छौं । पितापुर्खाले त्यही खोलाको पानी खान्थे,’ उनले भने, ‘धारामा पानी सुकेपछि त्यही खोलामा जाने गरेका छौं ।’ खोला पुग्न आधा घन्टाभन्दा बढी लाग्छ । भूकम्पपछि धारामा पानी कम हुँदै गएको उनले बताए ।
पानीको अभावको असर यहाँका बालबालिकाको पढाइमा समेत परेको छ । पानी थाप्ने पालो कुर्दा स्कुल नै छुट्ने गरेको कक्षा सातमा पढ्ने रञ्जु गुरुङ बताउँछिन् । उनको स्कुल गाउँदेखि डेढ घन्टा परको चौकीडाँडामा छ । भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मनबहादुर मगरले पानीको अभाव भएपछि ढोडेनी भन्ने ठाउँमा पाँच सय मिटर तलबाट पानी तानेर खुवाएको बताए । जसका लागि ९० लाख रुपैयाँ खर्च भएको छ । ‘चौकीडाँडामा ८० लाख लागतमा अर्को खानेपानी आयोजना सुरु हुँदै छ,’ उनले भने, ‘आयोजना पूरा भए कमलपुरमा पनि सधैं पानी आउँछ ।’

वाग्मती प्रदेश

ठक्करबाट असईको मृत्यु

- कान्तिपुर संवाददाता

काभ्रे (कास)– पिकअपको ठक्करबाट प्रहरी चौकी साँगाका प्रहरी सहायक निरीक्षक (असई) तेजबहादुर गुरुङको मृत्यु भएको छ । चौकीअगाडि बाटो काट्ने क्रममा रहेका उनलाई बनेपातर्फ आउँदै गरेको बा १९ च १३२३ नम्बरको पिकअपले ठक्कर दिएको इलाका प्रहरी कार्यालय बनेपाका इन्स्पेक्टर योगेन्द्र तिमल्सिनाले जानकारी दिए । उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याएपछि उनलाई मृत घोषित गरिएको थियो । पिकअपका चालक भक्तपुरका ३१ वर्षीय विक्रम जाकिवञ्जार प्रहरी नियन्त्रणमा छन् ।

वाग्मती प्रदेश

कृषकलाई दुई लाख

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– हेटौंडा उपमहानगरपालिकाले दुई जना कृषकलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको छ । हेटौंडामा भएको कृषि मेला प्रदर्शनी समापन समारोहमा हेटौंडा–१२ का रामप्रसाद पौडेल र ७ का रामबहादुर बस्नेतलाई सम्मान गरिएको हो ।
भेटेरिनरी अध्ययन गरेका ४८ वर्षीय बस्नेत व्यावसायिक गाईपालन गरिरहेका छन् । २०६० सालदेखि तरकारी खेती गर्दै आएका पौडेल भूमिहीन किसान हुन् । भाडामा लिइएको ४५ कठ्ठा जग्गामा उनी खेती गर्दै आइरहेका छन् ।

वाग्मती प्रदेश

ड्रागन गुफा पदमार्गमा जोडिँदै

- अनिश तिवारी
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ लार्के जंगलमा रहेको ड्रागन गुफा ।तस्बिर सौजन्य ः निमाछिरिङ लामा

(सिन्धुपाल्चोक) - घना जंगलबीचको भीर । भित्ताको परपरसम्म फैलिएको अनौठो आकृति । बौद्ध परम्पराको ध्वजापतकाले भीरसँगैको गुफालाई झनै आर्कषक बनाएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङको लार्के जंगलमा रहेको ‘ड्रागन गुफा’को दृश्य हो यो । तामाङ र शेर्पा समुदाय यहाँ कुदिएको अनौठो कलालाई शक्तिशाली ड्रागनले रूपमा मान्छन् ।
‘त्यसैले यसको नाम नै ड्रागन गुफा बन्यो, यहाँको कला देखेर सबै दंग छौं,’ वडाध्यक्ष निमाछिरिङ लामाले भने । सरकारले सूचीकृत गरेको ‘सय गन्तव्य’मा परेको पाँचपोखरीसँगै ड्रागन गुफालाई पर्यटनमा जोड्न पदमार्गको योजनामा आफूहरू रहेको उनले बताए । यो गुफालाई ह्योल्मो भाषामा ‘डुग रेहेन्जेन’ अर्थात् ड्रागनको शिला भन्ने गरिन्छ । यसको तल्लो गुफालाई नाङ्बु थिवा भन्छन्, यसको अर्थ घ्याम्पो फुटेको भन्ने हो । लार्के क्षेत्रको मुख्यस्थल गुफाभित्रको एउटा ढुंगाबाट दूधजस्तो पदार्थ बगिरहन्छ । ‘त्यही प्राचीन पवित्र घ्याम्पोको दूध ढिस्को बनेर बसेको मानिन्छ, त्यसले पखालेमा पाप मेटिने जनविश्वास छ,’ उनले भने ।
पाँचपोखरी थाङपाल–३ भोताङका झाँक्री रिटी तामाङ लोप्चाका अनुसार दुई शब्तादीअघि यहाँ एउटा ठूलो भीर र भित्तोको थुम्कोजस्तो मात्रै थियो । केही चौंरी गोठाला बस्थे । औंसीको रातमा चौंरीगोठबाट अचानक भागाभाग मच्चियो । जब गोठाला र झाँक्रीले भीरमा ठूलो आगोको ज्वालासहित कुनै सर्पजस्तै जीव आनन्द लिएर नाच्दै थियो । डराएर उनीहरूले टाढैबाट त्यो घटना हेरे । ‘भोलिपल्ट ती गोठालाले ड्रागन आकारमा ढुंगामा कुदेको कलात्मक स्वरूप भेटेको किंवदन्ती छ, यसलाई ठूलो दैवीशक्ति मानेर पूजा गर्दै आएका छौं,’ उनले भने । तत्कालीन प्रसिद्ध झाँक्री सुन तामाङसहित चार जनाले द्धू गुफाको स्थान पहिचान गरेको उनको भनाइ छ । प्रत्येक मसिंर पूर्णिमाका यो गुफा परिसरमा मेला लाग्ने गर्छ ।
पाँचपोखरीसम्म केबुलकार लैजाने लक्ष्य राखेको पाँचपोखरी थाङपाल गाउँपालिकाले लार्के खोला हुँदै आमायांग्रीसम्मको पदमार्ग योजना राखेको छ । महागुरु पद्मसम्भव, गुरु रेन्पोछेले तपस्या गरेको पवित्र शिलास्थल, ड्रागन गुफासम्म पदमार्गलाई जोड्ने योजना बनाइएको पाँचपोखरी थाङपाल पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सुवास वाइबाले बताए । ‘हाल अप्ठेरो स्थानलाई सहज बनाएर ट्रेकिङ रुट बनाएका हौं, चाँडै सहजसँग पाँचपोखरी पुग्न सकिने बाटो बनाउनेछौं,’ उनले भने ।
पाँचपोखरी गेटमा डिजिटल प्रवेशद्वार, नागिथाम्ङमा उद्यान क्षेत्र र ६० फिट अग्लो गुरु रेन्पोछेको मूर्ति बनाउने गाउँपालिकाले योजना छ । नौलिंगेश्वर महादेव, आमायांग्री र पाँचपोखरीको विशेष पर्यटन प्रवर्द्धन अभियानमा लागेको वाइबाले जनाए ।

वाग्मती प्रदेश

प्रहरीद्वारा आत्महत्या प्रयास

- कान्तिपुर संवाददाता

सिन्धुली (कास)– सिन्धुलीमा कार्यरत एक प्रहरीले आफैलाई गोली हानी आत्महत्याको प्रयास गरेका छन् । सर्लाहीको बहुअर्वा गाउँपालिका–६ स्थायी घर भई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा काजमा कार्यरत २२ वर्षीय चन्द्रकिशोर रायले ड्युटीमा रहेकी सहकर्मी महिला प्रहरीको राइफल खोसेर आफैंलाई गोली हानेका हुन् । प्रमुख जिल्ला अधिकारी निवासको गेटमा ड्युटीमा रहेकी सहकर्मीको राइफल खोसेर उनले दाहिने कोखामा गोली हानेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान २ बजेदेखि ६ बजेसम्म उक्त पोस्टमा राय नै खटिएका थिए । ड्युटी सकेर हिँडेका उनी एक घन्टापछि सादा पोसाकमा फर्केका थिए । सहकर्मीले उनको प्रेम प्रस्ताव अस्विकार गरेपछि केहीबेर विवाद भएको स्रोतको भनाइ छ ।
प्रहरी प्रमुख एसपी रन्जु सिग्देलका अनुसार गम्भीर घाइते रायलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि प्रहरी अस्पताल महाराजगन्ज काठमाडौं लगिएको छ । दुवै अविवाहित हुन् ।

वाग्मती प्रदेश

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

- कान्तिपुर संवाददाता

धादिङ– धादिङको बेनीघाट चरौंदीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का घाइते भएका छन् । मुग्लिनबाट काठमाडौं गइरहेको भारतीय बीआर ०६ जीडी ८६७१ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको प्र. ३–०२–०१४ प ३९८९ नम्बरको स्कुटरलाई बिहीबार धादिङ बेनीघाट रोराङ–६ स्थित चरौंदीमा ठक्कर दिँदा सोलुखुम्बु मुक्ली नगरपालिका–१ का २२ वर्षीय स्कुटर चालक प्रकाश बस्नेतको मृत्यु भएको हो । सोही स्कुटरमा सवार काभ्रे घर भई काठमाडौं बस्दै आएका सनिश थापा घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर भोजराज पाण्डेले बताए । 

वाग्मती प्रदेश

एउटै रङ, उस्तै घर

- कान्तिपुर संवाददाता
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५, बाडेगाउँमा बनेको माझी एकीकृत बस्ती । यहाँ माझी समुदायको ३६ घर छन् । तस्बिर ः कान्तिपुर

(सिन्धुपाल्चोक) - हरियो जस्ता । सेतो र रातो रङले चिटिक्क पोतिएका एउटै आकारका घर । छेउमै कञ्चन इन्द्रावती नदी । एकै खालका नयाँ घरले इन्द्रावती गाउँपालिका–५, बाडेगाउँको रूप फेरेको छ । अक्सफाम, महिला आत्मनिर्भर केन्द्र मेलम्चीको आर्थिक प्राविधिक सहयोग र इन्द्रावती गाउँपालिकाको पहलकदमीमा माझी एकीकृत बस्तीमा ३६ घर बनेका हुन् ।
२०६७ सालमा इन्द्रावतीको बर्खे कटान र सुक्खा पहिरोले बस्ती धराप बनाएपछि इन्द्रावती किनारबाट माझी परिवार प्युघर सरेका थिए । उनीहरूले दुःख गरेर बनाएको सानो घर २०७२ को भूकम्पले ध्वस्त बनायो । मध्यपहाडी लोकमार्गले सडक निर्माणको क्रममा बस्ती नै उठाएपछि उनीहरू सुरक्षित स्थान खोज्दै भौंतारिए । ‘आफ्नै थातथलोबाट बेघर बनेका हामीले बल्ल चिटिक्कको घर पाएका छौं,’ हरिभक्त माझीले भने ।
बस्ती ठड्याएपछि गाउँभर पर्वजस्तै हर्ष छाएको एकीकृत माझी बस्ती व्यवस्थापन समितिकी अध्यक्ष शर्मिला माझीले बताइन् । झन्डै २८ रोपनी क्षेत्रफलमा फैलिएको एकीकृत बस्तीको भुइँतले घरमा तीन कोठा छन् । पानीको ट्यांकी निर्माण गरेर प्रत्येक घरमा खानेपानी, शौचालय र फोहोर व्यवस्थापन गर्ने व्यवस्थित टोकरी राखिएको अक्सफामका प्रमुख श्रीभक्त बस्नेतले बताए । ३ करोड १२ हजार ६५३ रुपैयाँको लागतमा माझी समुदायको श्रमदानबाट एक वर्षभित्रै एकीकृत बस्ती बनेको इन्द्रावती गाउँपालिका–५ का अध्यक्ष दुर्गाबहादुर तामाङले जानकारी दिए ।
नमुना बस्तीको अवधारणाअर्न्तगत एकीकृत बस्ती उभ्याइएकाले माझी परिवारलाई आयआर्जनको लागि होमस्टेको अवधारणा ल्याउने गाउँपालिकाले योजना बनाएको छ । माझीको मौलिक संस्कृतिलाई बस्तीभित्र समावेश गरेर इन्द्रावतीभित्रै माझी होमस्टे सुरुवात गर्ने अध्यक्ष तामाङले बताए ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) को अध्ययन तथ्यांकअनुसार जिल्लाभर विभिन्न संस्कृति, समुदाय समेटेर २५ एकीकृत बस्ती बनिरहेका छन् । ‘सरकारी अनुदान लिएर एकीकृत बस्ती बनाउन सूचना दिइसकेका छौ,’ जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का प्रमुख सन्तोष निरौलाले भने । सरकारी अनुदानको मापदण्डअनुरूप ग्रामिण क्षेत्रमा चार लाख, हिमाली भेगमा पाँच लाख र सहरी भूभागमा भए एक घर बराबर तीन लाख पूर्वाधारको रकम पाउने उनले बताए । विभिन्न एकिकृत बस्तीसहित गैरसरकारी संस्थाको सहयोगमा पाँच हजार भूकम्पपीडितको आवास बनिसकेको इकाईले जनाएको छ ।

वाग्मती प्रदेश

छात्रालाई छैन प्याड

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– विद्यालयमा सेनेटरी प्याड नहुँदा छात्राहरूको पढाइ अनियमित हुने गरेको छ । जानुका थिङ महिनाको चार दिन स्कुल जान्नन् । उनी कैलाश गाउँपालिका–३ स्थित भवानी मावि ९ कक्षाकी छात्रा हुन् । प्याडको व्यवस्था नहुँदा उनीजस्ता महिनावारी हुने छात्रा महिनाको चार–पाँच दिन अनुपस्थित हुने गरेका छन् । ‘गत वर्ष त सेनेटरी प्याडको व्यवस्था थियो,’ प्रधानाध्यापक बालचन्द मल्लले भने, ‘यो वर्ष सकिएन ।’ गत वर्ष विद्यालयमा गाउँपालिकाले प्याड उपलब्ध गराएको थियो । कालिका माविले भने छात्रछात्रा दुवैवाट प्याड खरिद गर्न मासिक पाँच रुपैयाँ संकलन गर्दै आएको छ ।
‘प्याडकै अभावले महिनावारी भएका बेला छात्राहरू स्कुलमा अनुपस्थित हुनुपर्ने अवस्था छैन,’ प्रअ राजाराम पराजुलीले भने । उक्त विद्यालयमा ७२५ जना विद्यार्थी छन् । तीमध्ये छात्राको संख्या ४१० रहेको छ । मकवानपुरका अधिकांश विद्यालयमा सेनेटरीको प्याडको व्यवस्था नहुँदा छात्राको पढाइमा असर पुगेको छ । केही पालिकाले भने आफूमातहतका विद्यालयमा प्याडको व्यवस्था गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले गत वर्षदेखि स्कुल/स्कुलमा सेनेटरी प्याड उपलब्ध गराएको छ । थाहा नगरपालिकाले गत शैक्षिक सत्रमा विद्यालयहरूमा सेनेटरी प्याड उपलब्ध गराए पनि यो वर्ष त्यस्तो व्यवस्था गरिएको छैन । संघीय सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने किशोरीलाई सेनेटरी प्याड उपलब्ध गराउने भने पनि हालसम्म कार्यान्वयनमा आउन नसकेकाले केही पालिकाले आफ्नै पहलमा वितरण गरिरहेका छन् ।

Page 5
उपत्यका

बस्तीको ढल अझै खोलामा

उपत्यकाका खोला अव्यवस्थित र प्रदूषित छन्, यसको प्रभाव जलचरमा समेत परेको छ
- लीला श्रेष्ठ
प्रदूषित वाग्मती नदी । सफाइ अभियानले हाल नदीमा फोहोर कम भए पनि अभियान प्रभावकारी देखिएको छैन । फाइल तस्बिर ः कान्तिपुर

(भक्तपुर) - साहित्यकार एवं संस्कृतिकर्मी तेजेश्वरबाबु ग्वंगले हनुमन्ते खोलामा पौडी खेल्न सिके । त्यसबेला हनुमन्तेको पानी कञ्चन थियो । ‘त्यस्तो सफा पानी सम्झँदा मात्रै आनन्द लाग्छ,’ उनले सम्झिए, ‘हामी त माछा पनि मार्थ्यौं । अब उपत्यकाको नदी/खोलामा माछा बाँच्ने अवस्थै छैन ।’
उनले भनेजस्तै उपत्यकाका खोला अव्यवस्थितमात्रै होइन प्रदूषित छन् । यसको प्रभाव जलचरमा समेत परेको छ । भक्तपुरको मुख्य सम्पदाका रूपमा रहेको हनुमन्ते खोला अस्तव्यस्त हुनुमा जर्मन प्रोजेक्ट नै कारक रहेको भक्तपुर नगरपालिकाका पर्यटन तथा वातावरण समितिका संयोजक रवीन्द्र ज्याख्वाको तर्क छ । उनका अनुसार नगरमा दुई चरणमा जर्मन प्रोजेक्टले काम थाल्यो ।
पहिलो चरण (२०२७–०३१) मा साना सम्पदा संरक्षण र ढल निकासको काम भयो । दोस्रो चरण (२०३२–४४/४५) मा ‘भक्तपुर विकास परियोजना’ शीर्षकमा घरघरमा शौचालय बने । परियोजनाअन्तर्गत नै पाटीपौवा, सत्तल, बाटो मर्मतलगायतका काम भए । खानेपानी र ढलको पाइप बिछ्याइयो । माथिल्लो भेग (पूर्वी भेग) को ढल भक्तपुर–७ खंचास्थित दुई वटा उपचार पोखरी (प्रशोधन केन्द्र) मा खसाल्न थालियो ।
प्रशोधन गरेपछि मात्र हनुमन्तेमा सफा पानी पठाउने प्रक्रिया थालिएको थियो । पश्चिम भेगबाट बग्ने ढल भक्तपुर–१ सल्लाघारीस्थित चार वटा प्रशोधन केन्द्रमामा प्रशोधन गरी हनुमन्तेमा पानी पठाउन थालिएको ९ नम्बर वडाका अध्यक्षसमेत रहेका ज्याख्वाले भने । तर परियोजनाको यस्तो प्रणाली तीन वर्ष पनि टिक्न सकेन ।
प्राविधिक व्यवस्थापनको जिम्मेवारी स्थानीयलाई दिन नसक्दा यस्तो समस्या आएको उनको बुझाइ छ ।
पोखरीमा जम्मा भएको ढल प्रशोधन भएपछि मात्र नदीमा पठाउनुपर्ने थियो । तर नगरबाट निस्किएको ढल सिधै खोलामा पुर्‍याइयो । ‘नगर त सफा हुँदै गयो, तर हनुमन्ते फोहोर भयो,’ साहित्यकार ग्वंगले भने ।
भक्तपुर, मध्यपुर थिमि नगरपालिकामात्र होइन, उपत्यकाको तीनवटै जिल्लाबाट निस्किएको ढल सिधै वाग्मती र यसका सहायक नदीबाट बग्छ । नगर सफाको अवधारणाअनुरूप ढल व्यवस्थापनको नाममा सिधै खोलामा मिसाएपछि नदी दुर्गन्धित बनेका छन् । अहिले पनि नगरपालिकाहरूले बस्तीको ढल व्यवस्थित गर्न ह्युमपाइपमार्फत सिधै खोलामा ढल खसालिरहेका छन् । ‘यसले गर्दा सांस्कृतिक महत्वका नदीनाला दुर्गन्धित भए,’ काठमाडौं–२९ अनामनगरका तुल्सीबहादुर डंगोलले भने, ‘तीन दशकअघिसम्म धोबीखोला सफा थियो, अहिले दुर्गन्धित बन्यो । ढल प्रशोधन नभएसम्म खोला सफा हुँदैन ।’

ढल प्रशोधनको तयारी
वाग्मती र सहायक नदीलाई पुनर्जीवन दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन इकाई (पीआईडी) र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढल व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण गरिरहेका छन् । आयोजना कार्यान्वयन इकाईअन्तर्गत काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाका प्रबन्धक सुरत बमका अनुसार मेलम्ची खानेपानी आयोजनालक्षित पाँच ठाउँमा प्रशोधन केन्द्र निर्माण गर्ने योजना छ ।
नेपाल सरकार र एडीबीको सहयोगमा सल्लाघारी, कोड्कु (बालकुमारी), गुह्येश्वरी, धोबीघाट, गोकर्ण, हनुमानघाटमा प्रशोधन केन्द्र निर्माणको चरणमा रहेको उनले बताए । पीआईडीले हनुमन्ते, मनोहरा र खस्याङखुसुङ नदीको दुवै किनारमा करिब ४४ किलोमिटर ढल प्रणालीको काम गरिरहेको छ । जसमध्ये ३१ किलोमिटर सम्पन्न गरी प्रशोधन केन्द्रसम्म जोडिएको छ । गुह्येश्वरी प्रशोधन केन्द्रबाट दैनिक ३ करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरेर वाग्मती नदीमा बगाउने बमले बताए ।
सल्लाघारीबाट दैनिक १ करोड ४२ लाख लिटर प्रशोधन गरी हनुमन्ते नदीमा, कोड्कुबाट दैनिक १ करोड ७५ लाख लिटर मनोहरा नदीमा मिसाइनेछ । धोबीघाटबाट दैनिक ७ करोड ४० लाख लिटर, गोकर्णबाट दैनिक ३० लाख लिटर र हनुमानघाटबाट दैनिक १० लाख लिटर ढल प्रशोधन गरिनेछ । ‘दैनिक १४ करोड २१ लाख लिटर अर्थात् करिब १६ सय लिटर प्रतिसेकेन्ड सफा पानी उपत्यकाका नदीमा बगाउने योजनामा छौं,’ उनले भने, ‘हाल गुह्येश्वरी प्रशोधन केन्द्रबाट दैनिक २ करोड ३० लाख लिटर परीक्षण भइरहेको छ ।’
निर्माण कम्पनीले सल्लाघारी, कोड्कु र धोबीघाटको प्रशोधन केन्द्र पाँच वर्षसम्म सञ्चालन गर्ने र गुह्येश्वरीको १० वर्ष सञ्चालनपछि सरकारलाई हस्तान्तरण गर्ने सम्झौता छ । उपत्यकाको जनसंख्याका हिसाबले ती केन्द्र ढल प्रशोधनका लागि पर्याप्त भने होइनन् । कतिपय स्थानमा जग्गा र खोला विवादका कारण ह्युमपाइप जडान तथा प्रशोधन केन्द्र निर्माणमा समस्या आएको पीआईडीका प्रबन्धक बम बताउँछन् ।
सरकारले सन् २०२१ सम्ममा दैनिक १४ करोड २१ लाख लिटर ढल प्रशोधन भइसक्ने जनाएको छ । सन् २०१६ देखि सुरु भएको प्रशोधन केन्द्र निर्माणको लागत करिब ७ अर्ब १० करोड
रुपैयाँ छ । सन् २०३० सम्ममा उपत्यकाको ५० प्रतिशत फोहोर पानी प्रशोधन गरिसक्ने सरकारको लक्ष्य छ ।

उपत्यका

विमानस्थल आगलागीमा ६ करोड क्षति

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र सोमबार साँझ आगो लाग्दा करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगो सुरु भएको एयरपोर्ट टी कफी एन्ड कन्फेक्सनरीमा मात्रै दुई करोड रुपैयाँ बराबरको क्षति भएको दाबी त्यसका सञ्चालक गोपालबाबु श्रेष्ठले गरेका छन् ।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार एक घण्टासम्म लागेको आगोबाट टर्मिनल भवनको पूर्वाधारमा दुई करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । ६० लाख रुपैयाँको विद्युतीय उपकरण नष्ट भएको, ७५ लाख रुपैयाँ बराबरको सीसीटीभी क्यामरालगायत सुरक्षा उपकरण जलेको, २५ लाख रुपैयाँको रेडियो उपकरणमा क्षति पुगेको सहित करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको विमानस्थलले प्रारम्भिक अनुमान गरेको छ ।
‘हाम्रो प्रारम्भिक अनुमानअनुसार ६ करोड रुपैयाँ बराबरको क्षति भएको आकलन गरेका छौं,’ महाप्रबन्धक केसीले कान्तिपुरसँग भने । क्याफेबाट सुरु भएको आगलागीले विमानस्थलको प्रस्थानतर्फ रहेको स्टेरायल हलमा क्षति पुर्‍याएको छ । विमानस्थलको कर्पोरेट महाशाखाका एक अधिकारीले क्याफे बिमाविनै सञ्चालन गर्न दिइएको बताए । उनका अनुसार यस आगलागीबाट भएको क्षतिको कतै पनि बिमा शोधभर्ना हुने प्रावधान छैन । आगलागीलगत्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले आगोबाट क्षतिग्रस्त बनेको प्रस्थान क्षेत्रमा तत्काल पुनर्निर्माण थाल्न निर्देशन दिएको थियो । महाप्रबन्धक केसीले ३० घण्टापछि उक्त क्षेत्र सञ्चालनमा ल्याएको बताए । हाल त्यस क्षेत्रमा सरसफाइ र पुनर्निर्माणको काम कुलेश्वरको सिनर्जी बिल्डर्सले गरिरहेको छ । उक्त कम्पनीका कामदारको भुक्तानी र सामान खरिद विमानस्थलले गर्ने भएको छ । सचिव अधिकारीको बैठकले पछि नागरिक उड्डयन प्राधिकरणबाट खर्च भराउने निर्णय गरेको छ ।

उपत्यका

अन्तरिम आदेशका भरमा सञ्चालन

- कान्तिपुर संवाददाता

विमानस्थलको कर्पोरेट महाशाखाका अनुसार आगलागी भएको कफी सप चार वर्षदेखि सर्वोच्च अदालतको अन्तरिम आदेशकै भरमा सञ्चालनमा भइरहेको छ ।
उक्त पसलको ठेक्का अवधि ०७२ चैतमै सकिएको थियो । ‘मुद्दा किनारा नलागेकाले अझै कति चल्ने हो थाहा छैन,’ कर्पोरेटका एक अधिकारीले भने, ‘विमानस्थलभित्र अदालतको आदेशमा ७/८ वर्षदेखि चलेका यस्ता थुप्रै पसल छन् ।’ अत्यधिक कारोबार हुने यो कफी सपले ०६९ चैतमा अन्तर्राष्ट्रिय यात्रु प्रस्थान गर्ने स्थानमा वार्षिक ३४ लाख रुपैयाँ भाडा तिर्ने सर्तमा तीन वर्षका लागि सञ्चालन अनुमति पाएको थियो ।

उपत्यका

नागढुंगा–कलंकी सडकमा सीसीटीभी

- कान्तिपुर संवाददाता

काठमाडौं (रासस)– उपत्यका भित्रिने प्रमुख नाका नागढुंगा–कलंकी सडकमा सीसीटीभी जडान गरिने भएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उक्त सडकखण्डमा सीसीटीभीसँगै सडकबत्ती अझ व्यवस्थित गरिने बताए । ‘चन्द्रागिरीमा हुने अपराध नियन्त्रणका लागि यस्तो व्यवस्था गर्न लागेका हौं,’ उनले भने, ‘सीसीटीभी र सडकबत्ती जडानका लागि एक करोड रकम विनियोजन गरेका छौं ।’
शुक्रबार आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक नियम पालना गरे सडक दुर्घटनामा कमी आउने बताए । राजधानी भित्रिने प्रमुख नाकामा सडक दुर्घटना न्यूनीकरणमा आफूहरू लागिपरेको उनको भनाइ थियो । नेपाल ट्रक तथा टिपर व्यवसायी संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सरकारले मालवाहक सवारीसाधन पार्किङका लागि आवश्यक स्थान उपलब्ध गराउन नसकेको गुनासो गरे ।
कार्यक्रममा ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्री प्रदर्शन गरिनुका साथै सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

उपत्यका

याङ्ग्री र लार्केमा सुरुङ खन्न टीबीएम प्रयोग तयारी

- दीपेन्द्र विष्ट

(काठमाडौं) - मेलम्ची खानेपानी आयोजनाले दोस्रो चरणको कामअन्तर्गत याङ्ग्री र लार्केको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गर्ने तयारी गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार टीबीएम मेसिनबाट सुरुङ खन्दा काम चाँडो हुने भन्दै सम्बद्ध अधिकारीबीच छलफल भइरहेको छ । ‘मेसिन महँगो पर्छ, तर काम चाँडो हुने भएकाले टीबीएम नै प्रयोग गर्न आवश्यक तयारी भइरहेको छ,’ मन्त्रालयका एक अधिकारीले कान्तिपुरसँग भने ।
पहिलो चरण मेलम्ची आयोजनाको साढे २६ किमि सुरुङ खन्दा पटक–पटक ठेकेदार कम्पनीले विवाद निकालेको उल्लेख गर्दै ती अधिकारीले टीबीएम मेसिन नै उपयुक्त हुने दाबी गरे । ‘टीबीएम यस्तो मेसिन हो, जसलाई एकपटक सुरुङ खन्दै अघि बढाउँदा काम नसकी निकाल्न पाइँदैन, ठेकेदार भाग्न पाउँदैन,’ ती अधिकारीले भने, ‘यसअघि हामीले ठेकेदारबाट पटक–पटक धोका पाएकाले काम ढिला भयो ।’
याङ्ग्री र लार्केको सुरुङका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाले अब त्यसमा टीबीएम पद्धतिबाट सुरुङ खन्ने योजना बनाइएको हो । यसअघि पहिलो चरणको मेलम्ची आयोजनामा सुरुङ खन्दा चट्टान हटाउन बम पड्काउनुका साथै हाते मेसिनको प्रयोग गरिएको थियो । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ । लार्केबाट याङ्ग्रीको मुहानसम्म २ किमि सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवर्क्स अम्बाथानमा मिसाइने छ ।
तीनवटै खोलाबाट गरी दैनिक ५१ करोड लिटर पानी अम्बाथानदेखि २६ किमि टाढाको सुन्दरीजलमा ल्याइने छ  । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन निर्माणाधीन भेरी–बबई डाइभर्सन आयोजनामा पहिलो पटक टीबीएम प्रयोग गरिएको थियो । टीबीएम अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको हो ।
खानेपानी तथा सरसफाइ सचिव माधव बेल्वासे भेरी–बबई डाइभर्सन आयोजनाका प्रमुख हुँदा उक्त मेसिन प्रयोगमा ल्याएका हुन् । टीबीएम प्रयोग गरिएका कारण भेरी–बबई डाइभर्सनको सुरुङ खन्ने काम निर्धारित समयभन्दा करिब एक वर्षअघि नै सम्पन्न भएको छ ।
काम छिटो, भरपर्दो हुने भएकाले पनि टीबीएम मेसिन प्रयोग गर्ने योजनामा मन्त्रालयका अधिकारीहरू सहमत भएका हुन् । मेलम्चीका लागि टीबीएम प्रयोग गर्न टेन्डर प्रक्रिया अघि बढाउनले तयारीमा अधिकारीहरू छन् ।
‘विकल्पका रूपमा छलफल त भएको छ, निर्णय हुन बाँकी छ,’ खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले भने, ‘याङ्ग्री र लार्केको सुरुङको डीपीआर तयार भइसकेको छ ।’ गत वर्ष इटालियन परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर बुझाइसकेको छ । विभिन्न क्षेत्रका परामर्शदातालाई ल्याएर सल्लाह गरेपछि मन्त्रालयले डीपीआर स्वीकृत गरेको हो । मेलम्ची आयोजनाको पहिलो चरणकै काममा ढिलाइ भएपछि याङ्ग्री र लार्केको काम अघि बढ्न सकेको छैन । एसियाली विकास बैंक (एडीबी) ले मेलम्चीको पहिलो चरणको काम सम्पन्न नभएसम्म याङ्ग्री र लार्केमा सहयोग नगर्ने चेतावनी दिएको थियो । आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले आयोजनाको पहिलो चरणको ठप्प रहेको कामले गति लिएकाले अब याङ्ग्री र लार्केको काम पनि छिट्टै सुरु हुने बताए ।
‘अब कतै पनि समस्या छैन, सबै पक्षले सहयोग गरेका छन् । निर्धारित समयमै मेलम्चीको पानी उपत्यकामा ल्याउँछौं,’ उनले भने, ‘अरू काम पनि अघि बढाउँछौं ।’ याङ्ग्री र लार्के खोलाबाट ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने आयोजनाको लक्ष्य छ  ।
याङ्ग्री र लार्के आयोजनासम्म सुरुङ निर्माणका लागि मुआब्जा वितरण र पहुँचमार्गको निर्माणको काम भने अघि बढिसकेको छ । करिब २५ किमि पहुँचमार्गको निर्माणका लागि ठेक्कासमेत भइसकेको छ । पहुँचमार्गको दूरी छोट्याउन पनि टीबीएम प्रयोग गरेर सुरुङ बनाउने तयारीसमेत आयोजनाले गरेको छ । आयोजनाले पहुँचमार्ग क्षेत्रका प्रभावित परिवारको करिब ३ सय ५० रोपनी जमिनको मुआब्जा दिनेछ । प्रतिरोपनी ५० हजारदेखि ३ लाख रुपैयाँसम्म मुआब्जा दिइनेछ ।
‘सबै तयारी भइराखेको छ,’ आयोजनाका एक अधिकारीले भने, ‘टीबीएम मेसिन प्रयोग गर्नेबारेमा निर्णयमा पुग्न मन्त्रालयसँग छलफल भइरहेको छ, जसरी पनि आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्छ भन्ने सबैको चाहना हो, त्यसैअनुसार काम पनि गरिराखेका छौं ।’

उपत्यका

मापदण्ड विनाको घरमा महानगर

- कान्तिपुर संवाददाता

ललितपुर (कास)– ललितपुर महानगरपालिका अन्तर्गतकै कार्यालय मापदण्डविपरीतको घरमा बसेको पाइएको छ । महानगरको गौरवको आयोजना कार्यालय पुल्चोकको बखुन्डोलस्थित नक्सा पासविनै तला थप गरिएको घरबाट सञ्चालन भइरहेको महानगरकै नक्सा जाँच इकाई टोलीले अनुगमन क्रममा फेला पारेको हो । उपमेयर गीता सत्यालले पहिलो तलामा भाडामा बसेकाले केही फरक नपर्ने दाबी गरिन् । ‘घरधनी नक्सापासको प्रक्रियामा छन्,’ उनले भनिन् । ललितपुर महानगर–३ को कित्ता नम्बर २०० मा रहेको उक्त भवनले साढे चार तलाको मात्र नक्सापास गरेको छ । बाँकी दुई तला नक्सापासविनै बनाइएको हो । सार्वजनिक खरिद नियमावली २०६४ को दफा ३८६ अनुसार २० हजार रुपैयाँभन्दा बढी घर बहालमा लिने व्यक्तिसँग लिखित सम्झौता गर्नुपर्ने कानुनी प्रावधान छ । तर, महानगरपालिकाले घरधनीको नक्सापासको कागजात नहेरीकनै कार्यालय भाडामा लिएको हो । अनुगमनपछि इकाई टोलीले घरधनीलाई कारबाही गर्न प्रतिवेदनसहित सिफारिस गरेको छ । नक्सा इकाईले तला थप नगर्न रोक्का पुर्जी जारी गरे पनि घरघनीले निर्माण कार्य रोकेका छैनन् ।

उपत्यका

दादुरा–रुवेलाविरुद्ध खोप

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सरकारले बिहीबारदेखि दादुरा र रुवेलाविरुद्ध खोप अभियान सुरु गर्ने भएको छ । पहिलो चरणअन्तर्गत फागुन महिनाभर प्रदेश १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई दादुरा–रुवेला खोप दिइनेछ । अभियानका क्रममा करिब ५६ करोड रुपैयाँ खर्च हुने अनुमान छ । अभियानमा ५ हजार स्थानीय सुपरभाइजर, ९ हजार खोप लगाउने स्वास्थ्यकर्मी तथा एक लाख स्वयंसेवक परिचालन गरिनेछ । मुलुकभर ५० हजार खोप केन्द्र राखिनेछ । अभियानअन्तर्गत ९ महिनादेखि ५ वर्षसम्मका करिब ३० लाख बालबालिकालाई खोप दिइने बाल स्वास्थ्य खोप सेवा शाखा प्रमुख डा. झलक गौतमले जनाए । चैत महिनामा हुने अभियान वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ जना बालबालिकालाई खोप दिइनेछ । त्यसैगरी, यस पटक चितवन र नवलपरासीलाई छाडेर झापादेखि कञ्चनपुरसम्मका तराईका १८ जिल्लाका सबै बालबालिकालाई पोलियो थोपासमेत खुवाइनेछ । डा. गौतमका अनुसार जोखिम मानिएका जिल्लामा दादुरा र रुवेलाविरुद्धको खोपसँगै पोलियो थोपासमेत खुवाउन लागिएको हो ।

उपत्यका

नेपाल भाषामा मन्त्रीको चासो

- कान्तिपुर संवाददाता

ललितपुर (कास)– शिक्षामन्त्री गिरीराजमणि पोखरेलले नेवार समुदायको बाहुल्य भएको सामुदायिक विद्यालयमा नेपाल भाषा कक्षा सञ्चालन गर्न पहल गर्ने बताएका छन् । पाटनको शान्ति विद्याश्रम माविको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले संस्कृतिविद् सत्यमोहन जोशीका बारेमा पाठ्यपुस्तकमा समावेश गर्नेसमेत बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजरमान जोशीले रोटरी क्बल अफ पाटन र ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल भाषा कक्षा चलाइएको जानकारी गराए । नवनिर्मित तीनतले ६ कोठे भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ९१ लाख ९२ हजार ५५५ लागतमा बनेको हो । तेस्रो तलामा संस्कृतिविद् जोशीको नाममा सभाहल निर्माण गर्ने उनले बताए ।

Page 6
विविधा

आठाना फिर्ता

सिउँडी
- विमल निभा

 

ज्ञातव्य के छ भने आठाना फिर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हालका महासचिव कमरेड विष्णुप्रसाद पौडेलले सहर्ष (?) आफ्नो बालुवाटारको आठाना जमिन फिर्ता गरेका छन् ।
महासचिव कमरेड विष्णुप्रसाद पौडेलले आठाना फिर्ता गरेकोमा प्रथमतः मलाई विश्वासै भएन । यसको कारण के भने सरकारी पार्टीका एकमात्र महासचिवसँग त यस्तो चानचुन आना–पैसाको साटो रुपियाँ नै हुनुपर्ने होइन र ? यही सिलसिलामा कतिपय त संयुक्त राज्य अमेरिकाको हरियो–हरियो डलर नै भन्छन् । तर यस्तो केही नभएर आठाना मात्र हो । अर्थात् आठाना जमिन । अझ प्रस्टाप्रस्टीसँग भन्ने हो भने बालुवाटारको आठाना जमिन । हो, त्यही बालुवाटारको आठाना जमिन कमरेड महासचिव पौडेलले फिर्ता गरेका हुन् । कदाचित आठानाको स्थानमा दस आना अथवा बाह्र आना अथवा चौध आना अथवा सोह्र आना भएको भए के हुन्थ्यो ? यो मूलभूत प्रश्न अनुत्तरित भएकोले मैले बढ्ता बुझक्कड भएर केही बोल्नु त्यति मुनासिब छैन ।
वास्तवमा बालुवाटारको जमिन सस्तो नभएर ज्यास्ती नै महँगो रहेको छ । यो कतिसम्म महँगो छ भने आनाकै झन्डै करोड पर्छ । यस्तै जग्गा–जमिनका आधिकारिक दलालहरू निर्धक्कसँग भनिरहेका छन् । मलाई कुनै पनि खालका दलालहरूको बोली–वचनमा त्यति पत्यार लाग्दैन । चाहे त्यो जमिनको दलाल होस् अथवा राजनीतिकै । मेरो भन्नु के हो भने नेपालको राजनीतिको शीर्ष ओहदामा रहेका सम्माननीय प्रधानमन्त्री नै बसोबास गर्ने ठाउँको जमिन भएकोले अरु बेसी महँगो हुनुपर्ने होइन र ? मेरो हिसाबमा त बालुवाटारको आनाको मूल्य करोडभन्दा माथि नै हुनुपर्छ । र बालुवाटारको जमिनको सस्तो–महँगोको विषयमा सरकारी पार्टीका महासचिव कमरेड पौडेल जत्तिको जानकार अरु को हुनसक्छ ? त्यसैले मलाई त के लागिरहेको छ भने आनाकै करोड–करोड पर्ने जमिन महासचिव कमरेड पौडेलले फिर्ता नगरेको भए हुन्थ्यो । यसले मेरै आफ्नो चित्त बुझेको छैन । अब उनको पर्सनल चित्तको के अवस्था होला ? मेरो विचारमा त महासचिव कमरेड पौडेलले आठानाको बदलामा तीन आना फिर्ता गरेको भए पनि हुन्थ्यो । हेर्नोस्, उनले जमिन हातलागी गरेको बखतको आनाको मूल्यको हिसाब गर्ने हो भने तीन आना पनि बढ्तै हुन्छ । त्यसबेला जमिन असाध्यै सस्तो थियो । र अहिलेको चलनचल्तीमा रहेको तीन आनाको पैसाले आठ आना नै आउँथ्यो । अझ साँचो भन्ने हो भने केवल दुई आनाले नै राम्ररी काम चल्थ्यो । त्यसकारण मेरो महासचिव कमरेड पौडेलसँग के जिकिर हो भने सिंगो आठाना किन फिर्ता गरिएको हो ? वस्तुतः तीन आनाले पनि कुरा मिल्थ्यो नि ! यसको परिणामस्वरुप चोखै पाँच आनाको बचत हुन सक्थ्यो । र पाँच आना भनेको पुराकापुरा पाँच करोड हो । याने पाँच करोड नगद । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव कमरेड विष्णुप्रसाद नगदको मामलामा यति कमजोर हिसाबी–किताबी हुनै सक्दैनन् । त्यसउसले मेरो अनुमान के हो भने असली हिसाब–हिताब कुनै अर्थोक नै हो कि ? जे भए पनि त्यसो मेरो व्यक्तिगत जानकारीको पहुँचमा नभएकोले मैले केही भन्ने स्थिति छैन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव कमरेड विष्णुप्रसाद पौडेलले बालुवाटारको आठाना जमिन फिर्ता गरेकै समयमा बालुवाटारमा पार्टीका वरिष्ठ नेता कमरेडहरूका एक तस्बिर सोसल मिडियामा भाइरल बन्यो । त्यसमा वर्तमान अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओली तन्मयतापूर्वक मुरली बजाइरहेका छन् भने दुई भूतपूर्व अध्यक्षहरू कमरेड झलनाथ खनाल र कमरेड माधवकुमार नेपालचाहिँं घनघोर सहयोगी मुद्रामा सारंगी । कुन्नि, अर्का दुई नम्बरका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ तस्बिरमा किन नदेखिएका हुन् ! सम्भवतः उनी नेपथ्यमा उपस्थित भएर र्‍याइँ–र्‍याइँ गरिरहेका थिए । जे भए पनि अत्यधिक भाइरल तस्बिरमा भूतपूर्व एवं वर्तमान अध्यक्ष कमरेडहरू प्रशस्त खुसी देखिन्छन् । यिनीहरू मध्ये अध्यक्ष कमरेड ओली अहिलेका प्रधानमन्त्री भएकाले गदगद हुनु स्वाभाविकै छ । एक प्रकारले उनी पदेन पुलकितावस्थामा विराजमान छन् । तर अन्य दुई भूतपूर्व अध्यक्ष कमरेडहरूचाहिंँ के कुरामा यति प्रसन्न देखिएका हुन् ? यसमा पनि आठानाको व्यापक भूमिका हुनसक्छ । कुनै बेला कमरेड माधवकुमार नेपाल र कमरेड झलनाथ खनालमा तीव्र संघर्ष चलेको थियो । यसलाई पुरानो एमाले पार्टीको इतिहासमा ‘आठानाको संघर्ष’ नामले स्मरण गरिन्छ । दुवै कमरेडहरू एकातिर पञ्चायती व्यवस्थासँग जोडदार लडाइँ गरिरहेका थिए भने अर्कोतिर आठानाको संघर्ष पनि चालु थियो । यसको कारण राजधानी, काठमाडौंको आठाना थियो । अर्थात् कोटेश्वरस्थित जम्माजम्मी आठाना जमिन । (पढ्नोस्, २०६७ सालको चैत २६ गते प्रकाशित मेरो ‘सिउँडी’) को रचना– आठानाको सिद्धान्त) । हँ, के त्यो वरिष्ठ कमरेडहरूबीच आफैं–आफैंमा भएको आठानाको विवाद मिलिसक्यो ? तर वर्तमान महासचिव कमरेड विष्णुप्रसाद पौडेलले चाहिँं आफ्नो आठानालाई मिलाउन सकेनन् । अतएव अघि बढेर फिर्ता गर्नुपर्नेसम्मको अवस्था आयो । यहींनेर मेरो मनमा एउटा उत्सुक्ता जन्मिएको छ– केही गरी आफ्नो आठाना फिर्ता गरेका कमरेड महासचिव पौडेलको मन एकाएक परिवर्तित भएर उनले फिर्ता गरेको आठानालाई फिर्ता मागे के हुन्छ ?
कमरेड महासचिव विष्णुप्रसाद पौडेलको आठाना फिर्ता गराइको मौलिक स्टाइलले म बहुतै प्रभावित भएको छु । र मलाई पनि केही फिर्ता गरुँ भन्ने लागिरहेको छ । के फिर्ता गरुँ म ? एक मन त आफ्नै घरको जमिन फिर्ता गरुँ भन्ने भयो । तर यो त आठाना जमिनमा छैन । अब एकाध आफ्ना फिर्ता गरेर के हुन्छ ? त्यसमाथि मैले आफ्नो घरको जमिन कुनै भूमाफियाको बरदहस्तबाट प्राप्त गरेको पनि होइन । यो मेरो विशुद्ध परिश्रमको आर्जन हो । मैले महासचिव कमरेड विष्णुप्रसाद जसरी किन फिर्ता गर्ने ? तसर्थ म आफ्नो फिर्ता गर्ने विचारलाई नै अविलम्ब फिर्ता लिन्छु ।

विविधा

कसरी बन्दैछन् सहर ?

- राम गुरुङ

 

सहर बनाउन जति कठिन छ, त्योभन्दा गाह्रो यसलाई बचाउनुमा छ । विविध र विशिष्ट उत्पादन, व्यवस्थित र अनुशासित बजार, सक्षम र लालायित उपभोक्ता, सुनिश्चित रोजगार तथा व्यवस्थित बासबिना सहर बाँच्दैन । जसले सहर बनाउँछ । एउटा कुरामात्रै खस्किए पनि सहर सहरजस्तो हुँदैन । बजारजस्तो हुन्छ । यसर्थ सुविधायुक्त, व्यवस्थित र अवसरपूर्ण सहर अहिलेको आवश्यकता हो ।
तीव्र सहरीकरणले सहरतिरको बसाइँ–सराइ पनि बढेको छ । विश्व बैंकका अनुसार सन् २०१३ मा १७ प्रतिशत, ४६ लाख जतिको सहरी जनसंख्या अहिले २० प्रतिशत, ५७ लाखभन्दा माथि पुगेको छ । यो पहिलेभन्दा ११ लाख बढी हो । सबैभन्दा बढी जनसंख्या काठमाडौंमा छ । काठमाडौं दक्षिण एसियामै छिटो बनिरहेको सहर हो । भूगोलका हिसाबले नेपालको सहरीकरण, उपत्यका र तराईमा केन्द्रित छ ।
सन् २०१० यता तराईका महानगर उन्मुख नगर जस्तै— विर्तामोड, लहान, इटहरी, गाईघाट, कोहलपुर लगायत ठाउँमा बसाइँ–सराइ ह्वात्तै बढेको छ । तापनि यो काठमाडौंको ४ प्रतिशतभन्दा कम, करिब २.७१ प्रतिशत जतिमात्रै हो । जबकि काठमाडौं बाहिर पाल्पाको रामपुर, काभ्रेको पाँचखाल, संखुवासभाको तुम्लिङटार र अरुण उपत्यका, गोर्खाको पालुङटार, सुर्खेतको वीरेन्द्रनगर आदिमा भइरहेको बसाइँ–सराइ, ३.२ प्रतिशतभन्दा माथि छ ।
नेपाल मात्र होइन । विश्वभर नै सहरीकरण समथर भूगोलमा केन्द्रित छ । हाम्रोमा पनि पहाडका विभिन्न उपत्यकाबाट तराई (समथर) तिर धकेलिएका छन् । तर हामीकहाँ समथर जमिन धेरै छैन । उपत्यका र जंगल क्षेत्र बाहेक समथर जमिन, करिब १७ प्रतिशतमात्रै छ । यसर्थ ‘समथर–मोडल’भित्र भइरहेको सहरीकरण, दिगो/सन्तुलित सहरीकरण होइनन् । यसले जनसंख्या र पूर्वाधार विकासको सन्तुलित वितरण प्रभावित भएको छ । ठूला खर्चमा
बनेका अव्यवस्थित र संकुचित पूर्वाधार पनि नमुना सहर अनुकूल छैन । जहाँ ग्रामीण अर्थतन्त्रको सहरीकरण रूपान्तरण टरेका छन् ।
शक्तिशाली नेताले गर्दा सहरीकरण खास स्वार्थ समूहको खटनमा पुगेको छ । प्रदेश राजधानीका लागि भएका ‘राजनीतिक लबिङ’ले सहरीकरणमाथि भएको राजनीतिक दबाब प्रस्ट देखाउँछ । विभिन्न सम्भ्रान्तको अनुकूलमा बनिरहेका सहरीकरणभित्र सर्वसाधारणको कुरै छैन । विपन्नको जीवनस्तर उकास्न कस्तो सहर चाहिन्छ भन्नेबारे बहस त भएकै छैन । खटनमा भइरहेको सहरीकरण, नोकरी र पेसा/व्यवसाय विस्तारको उल्टो छ । सहरप्रति मोह बढे पनि सहरमा नै बस्छु, आर्थिक उन्नति गर्छु भन्नेहरू घट्न थालेका छन् । केन्द्रीय तथ्यांक विभाग–२०७६ का अनुसार २०७० सालसम्म ८.५७ प्रतिशतले बढ्दै गरेको सहरमा बस्न चाहनेको संख्या अहिले ६.३१ प्रतिशतभन्दा तल झरेको छ । जसका कारण सहरी जनसंख्या अस्वाभाविक तलमाथि हुँदै, श्रमप्रणाली नै खलबलिएको छ । सहर एक ठाउँमा थुप्रिएका छन् । सहरीकरणको यस्तो अवस्थाले महंँगी अस्वाभाविक बढेका छन् । घरजग्गामा बढ्दो वित्तीय प्रतितपत्रले (क्रेडिट) घरबहाल यसरी बढ्यो कि विपन्न जनसंख्या घरबहाल तिर्नै नसक्ने भए । २०७२ पछि घरबहाल २०–२७ प्रतिशतसम्म बढे पनि न्यूनतम आयमा भएको वृद्धि, करिब १४ प्रतिशतभन्दा कम छ । जसले सहरभित्रको आर्थिक तथा सामाजिक सम्बन्ध साँघुरिएका छन् ।
पहाडी उपत्यकाबाट निस्किएको सहरीकरण, नदीका किनार र पूर्व–दक्षिण तराईतिर थुप्रिएको छ । पहाडका अन्य भूभागमा यसको विस्तार भएको छैन । जसले गर्दा पहाडमात्र होइन, तराईका सुदूर गाउँहरू पनि सहरीकरणबाट छुटेको छ । यसरी हेर्दा अद्यापि करिब २ करोडभन्दा बढी जनसंख्या गाउँमा बस्छन् । तर २०७१ सालको घोषणाले नगर क्षेत्रभित्र बस्नेको जनसंख्या १ करोड २३ लाखभन्दा माथि पुर्‍याएकाले उल्लेखित आँकडा फरक देखिन्छ । यसैले सहरीकरण नापिएको हो । तर नयाँ बनेका नगरपालिकासँग पर्याप्त विकास बजेट नै छैन । विकास बजेटको अन्तर अनुपात फराकिलो (झन्डै ६ः३) छ । यसले समग्र पूर्वाधार विकासबिना नै नगरपालिका बनेका बाजुराको बुढीनन्दा नगरपालिका जस्ता थुप्रै नगरपालिकालाई बाटो, पुल, खानेपानी, ढल निकासको यथोचित प्रबन्ध गर्न समस्या भइरहेको छ ।
साना/ठूला नगरतिर सर्वसाधारणको मोह बढे पनि यसले व्यवस्थित सहर बनाउला भन्न गाह्रो छ । सडककै भरमा साना नगर बनिरहेका छन् । जहाँ–जहाँ सडक पुग्यो, त्यहीँ मापदण्ड बिनाका बस्ती बसेका छन् । व्यवस्थित ढल, खानेपानी, स्वास्थ्यसेवा, विद्यालयजस्ता आवश्यक कुरा बन्नसकेका छैनन् । जुन दिगो सहरका प्रतिकूलता हुन् । जो राजनीतिक आग्रहले प्रभावित छ । २०७१ सालमा ‘मास डिक्लेरेसन’ भएका नगरपालिका यसका उदाहरण हुन् । जहाँ जनसंख्यालाई मुख्य आधार (नगरपालिका हुन न्यूनतम १० हजार जनसंख्या तोकिएको थियो) मानेर २ सय ९३ नगरपालिका घोषित भए । जसले १५ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्नसक्ने नगरपालिका बनाउन सकेन । नगरपालिका परम्परागत प्रशासनिक इकाइजस्ता मात्र भए । आर्थिक तथा भौतिक विकासका कार्यक्रम बन्न सकेनन् । आर्यआर्जन र भौतिक विकासका काम हुन नसक्नाले सन् २०१० यता सहरको स्थायी जनसंख्या जम्मा ३ प्रतिशत अर्थात् करिब ८ लाखमात्रै बढेको छ ।
विकासोन्मुख देशमा आधुनिक व्यावसायिक कृषि र खानीको विकासले उद्योग र बजार बन्ने हो । यिनले नै साना तथा ठूला नगरको विकास गर्दै लैजान्छ । र आय आर्जनका लागि औद्योगिक निर्भरता बढाउँछ । तर नेपालमा कृषिको कूल गार्हस्थ्य योगदान घटिरहे पनि औद्योगिक गतिविधि ठप्पप्रायः छ । गएको १० वर्षमा उद्योगको योगदान ६ प्रतिशतभन्दा माथि उक्लिएको छैन । यस्ता कुरा सहरीकरणका लागि नराम्रो हो । पैठारी माल बेचेर चलेको सहरीकरणका राजस्वदेखि पूर्वाधार निर्माण सबै यसैमा निर्भर छ । यसकारण साँघुएिका रोजगारले मौसमी बसाइँ–सराइ बढेर सहरलाई चाहिने स्थिर जनसंख्या आपूर्ति गर्न सकिरहेको छैन ।
२०६८ सालपछिको सहरी जनसंख्याको बनोट सहरीकरणको लय अनुसार देखिन्न । ठूला नगरमा मौसमी जनसंख्या ह्वात्तै बढेको छ भने स्थायी जनसंख्याको वृद्धि सुस्त छ । यसले साना तथा ठूला नगरभित्रका आर्थिक तथा सामाजिक प्रणाली असन्तुलित भएका छन् । सन् २०१० मा नेपालको सहरी जनसंख्या १७ प्रतिशतमात्रै हुँदा ५१.६४५ प्रतिशत रहेको विश्वको सहरी जनसंख्या अहिले ५५.२७१ प्रतिशत पुगेको छ । भारतमा नै सन् २०१० यता ३.६२६ प्रतिशतले बढिरहेको सहरी जनसंख्या सन् २०१८ मा ५५.२७१ प्रतिशत छ । तर नेपालमा यसको वृद्धिदर ३.२३२ प्रतिशतमात्रै छ । यो नेपालजस्तो विकासोन्मुख देशका लागि निराशाजनक कुरा हो ।
देशभरि नै साना/ठूला नगर, पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्गका दायाँ–बायाँ बजारमा आश्रित छन् । तर सडकको निर्माण अघि बढ्दै जाँदा, नगरोन्मुख बजार थलापरेकाले नगरको विस्तार पनि टर्दै गएको छ । अछामको साँफेदेखि बाजुराको कोल्टी हुँदै हुम्ला जोड्ने सडक यसको उपयुक्त उदाहरण हो । जहाँ साँफे–मार्तडी सडक खण्डका बाल्डे, आम्कोट, तिपाडा र पानीनौला जस्ता बजार, सडक बन्दै जाँदा भत्कँदै गए । यो हालत देशैभर उस्तै छ । खुर्कोट–बर्दिबास र खुर्कोट–चतरा सडक, संखुवासभाको खाँदबारी–नुम–गोला हुँदै किमाथांका
जाने राजमार्ग तथा कोदारी राजमार्गको दोलखा–चरिकोटबाट सिंगटी हुँदै तिब्बती सीमा, लामोबगर पुग्ने सडक, आसपास कतै पनि ठूला नगर बन्नसकेका छैनन् । यी सडक तराई वा उपत्यकाका सहर पुग्न पहाड छिचोल्ने ‘ट्रान्जिट’ मात्रै बनेका छन् ।
सहरलाई सुविधासम्पन्न अस्पताल, गुणस्तरीय शिक्षा, आकर्षक र विलासी इन्जिनियरिङ र विविध स्वादका खानाले मोहर्षक बनाउँछ । जुन प्रकृति र प्रविधिको प्रगतिशील योगले दीर्घायु हुन्छ । तर पछिल्ला वर्षमा युवा पुस्ता सहरसँग लोभिए पनि मध्यमवर्गीय युवालाई सहरले रोक्नसकेको छैन । यसलाई वैदेशिक शिक्षा र रोजगारले खिचेको छ । सन् २००८ यता उल्लेखित उद्देश्यका लागि झन्डै ३० प्रतिशत सहरिया युवाले देश छोडेका छन् । किनकि व्यापारले चलेका काठमाडौं, पोखरा, धनगढीजस्ता सहरले आकर्षक कमाइ हुने ‘मास इम्प्लोयमेन्ट’ सिर्जना गर्नसकेको छैन । उद्योगबिना भइरहेको सहरीकरण दिगो र व्यवस्थित होला भन्न कठिन छ ।
नयाँ सहर/नगर मात्रै होइन । काठमाडौं, विराटनगर तथा नेपालगन्ज जस्ता सहरले समेत अर्थप्रणालीलाई विविध बनाएका छैनन् । सहरिया अर्थप्रणालीको ठूलो हिस्सा नाता प्रणालीमा चलेको छ । यस्ता अर्थप्रणालीले रोजगारको क्षेत्र र अवसरको पहुँचलाई साँघुरो बनाइदियो । जो सानातिना आर्थिक संकटले नै गम्भीर दुर्घटनामा पर्न सक्छ । यसले आँटिला लगानीकर्ताहरू निरुत्साहित भएका छन् । अन्यलाई सहर छोड्न बाध्य पारेको छ । जसले गर्दा सहरमा चाहेको पेसा/व्यवसाय गर्न पाउने शिक्षित १० युवामध्ये २ जना पनि छैनन् । ८० प्रतिशतभन्दा बढीले शिक्षा र योग्यतासँग अमिल्दा काम गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्णमध्ये ३७ प्रतिशत गाउँ फर्कन्छन् भने झन्डै २८ प्रतिशत काम गर्न र ४ प्रतिशत थप अध्ययन गर्न विदेश जान्छन् । परम्परागत कृषिमा फर्कने ६ प्रतिशत र सामान्य व्यापारमा लाग्ने ७ प्रतिशत छन् । यसरी हेर्दा ८२ प्रतिशतभन्दा बढीले सहर पसेको केही वर्षमा सहर छाड्छन् । जम्मा १८ प्रतिशतमात्रै सहरमा अडिएका छन् । यसले हाम्रो सहरीकरण दिगो जीविकोपार्जनका लागि अनुकूल छैन भन्ने देखाउँछ ।

विविधा

लोप नहोस् खरमुजुर

- कृष्णप्रसाद भुसाल

चराहरूको विश्वयापी अध्ययन, अनुसन्धान र संरक्षणमा काम गर्ने छाता संस्था बर्डलाइफ इन्टरनेसनलले हालै सार्वजनिक गरेको चराहरूको वर्तमान संरक्षण अवस्था प्रतिवेदनमा हरेक आठ प्रजातिका चरामध्ये एक प्रजाति संकटमा रहेको जनायो । यसो हुनुको मुख्य कारण बासस्थान नाश मानिएको छ । नेपालमा पनि बासस्थान विनाश नै चराहरूको लागि मुख्य खतरा हो । राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा रहेका चराका १६८ प्रजातिमध्ये करिब ८६ प्रतिशत चराहरू बासस्थान विनाशले नै संकटापन्न अवस्थामा पुगेका हुन् । हालसम्म नेपालबाट आठ प्रजातिका चराहरू लोप भैसकेका छन् भने विश्वमै दुर्लभ मानिएका ४४ प्रजातिका चराहरू यहाँ पाइन्छन् । बासस्थानमा पनि सबैभन्दा बढी अतिक्रमण, खण्डीकरण, संकुचन र विनाश घाँसेमैदानको भइरहेको छ । फलत घाँसेमैदानमा मात्र पाइने विश्वमै दुर्लभ १३ र राष्ट्रिय रूपमा संकटापन्न २५ प्रजातिका चराहरूले संकट झेलिरहेका छन् । यिनै मध्येको एक हो, विश्वमै दुर्लभ अति संकटापन्न अवस्थामा रहेको खरमुजुर जसको आगामी दस वर्षभित्रै लोप हुने सम्भावना ५० प्रतिशत छ । हाल नेपालको तराई, उत्तरी भारत र दक्षिण–पर््वूी एसियाको कम्बोडियाका घाँसेमैदानमा मात्र पाइने खरमुजुर विश्वमा १ हजारभन्दा कम र नेपालमा ६५ देखि १ सयको हाराहारीमा मात्र रहेको अनुमान छ । नेपालमा संरक्षित क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका घाँसेमैदानमा मात्र पाइने खरमुजुर बर्दिया राष्ट्रिय निकुञ्जमा देखिन छाडेको पनि धेरै भइसकेको छ । ऐतिहासिक कालमा पूर्वदेखि पश्चिम तराईभर फैलिएको यो लोपोन्मुख प्रजाति हाल आएर एकआपसमा छरिएर रहेका संरक्षित क्षेत्रभित्र मात्र सीमित भएको छ । घाँसेमैदान पर्यावरणको सूचक रूपमा हेरिने खरमुजुरको संख्यामा आएको उल्लेख्य गिरावटले नेपालको बिग्रँदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतहरूको ह्रासलाई जनाउँछ ।
सन् २०१२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छी संरक्षण संघले स्याटेलाइट ट्यागिङ गरेर खरमुजुरको विस्तृत अध्ययन गरेको थियो । चराको भौगोलिक अवस्थिति र विचरणको जानकारी स्याटेलाइटमार्फत प्राप्त गरिन्थ्यो । ट्याग गरिएका खरमुजुरको अध्ययन गर्दा यी चराहरू करिब ८० किमि दूरीमा रहेका कम जनघनत्व र धेरै खेतीपाती नगरिएको क्षेत्रमा स्थानान्तरण हुने गरेको देखायो । धेरैजसो चराहरूले यस्ता स्थानमा वर्षको ६ महिनाभन्दा बढी समय बिताउने गरेको पाइएको थियो । तर यी चराहरूको आफ्नै एउटा मनपर्ने स्थान हुन्छ, तसर्थ टाढा कतै संरक्षित क्षेत्र बाहिर गए पनि प्रजनन समयको सुरुवात चैतसम्ममा हरेक वर्ष एउटै ठाउँमा फर्किएर आफ्नो विशिष्ट नाच ‘कला’ देखाउने गरेको पत्ता लाग्यो । यिनीहरूको प्रजनन अवधि चैतदेखि असारसम्म रहन्छ । यसै अनुसन्धानबाट खरमुजुर प्रजनन अवधि इतरका समयमा खासगरी पानी परेपछि संरक्षित क्षेत्रभित्रको घाँसहरू अग्लो–अग्लो हुने हुँदा संरक्षित क्षेत्र छाडेर जाँदारहेछन् भन्ने अनुमान लगाइयो । अध्ययनले के देखायो भने खरमुजुरको संरक्षण गर्न घाँसेमैदानको उचित व्यवस्थापन अत्यन्तै जरुरी छ । यसका साथै संरक्षित क्षेत्रबाहिर पनि निस्की मानव बस्तीतिर पनि स्थानान्तरण हुँने हुँदा मध्यवर्ती र समुदायसँग संरक्षणमा सहकार्य जरुरी छ ।
नेपालको वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित ९ पन्छीमध्ये एक खरमुजुर जोगाउन नेपाल सरकारले खरमुजुर संरक्षण कार्ययोजना (२०१६–२०२०) पनि लागू गरेको छ, जसको मुख्य उद्देश्य यसको अनुकूलित घाँसेमैदान व्यवस्थापन गर्ने छ । तर विडम्बना, तराईका संरक्षित क्षेत्र बाहिरका घाँसेमैदान हराइसकेका छन् भने संरक्षित क्षेत्रभित्रका घाँसेमैदान पनि तीव्र गतिमा नासिँदैछन् । उदाहरणको लागि सन् १९७० मा चितवन राष्ट्रिय निकुञ्जको कुल क्षेत्रफलको २० प्रतिशत घाँसेमैदान रहेकोमा हाल आएर ९.६१ प्रतिशत अर्थात् ८ हजार ९ सय ५५ हेक्टरमा सीमित बनेको छ । यसको प्रत्यक्ष प्रभाव गैंडा, लघुना, मृग, जरायोजस्ता शाकाहारी जनावरमा मात्र परेको छैन, तिनलाई आहार बनाउने बाघ, चितुवाजस्ता मांसाहारी जनावरमा पनि परेको छ । घाँसेमैदान माइकेनिया, पार्थेनियम, वनमारा जस्ता मिचाहा प्रजातिको चपेटामा पनि परेको छ । घाँसेमैदान, सिमसार र जंगल एकआपसमा अन्तरसम्बन्धित पर्यावरणीय प्रणाली भएको हुँदा यी तिनैको मिश्रित बासस्थान वन्यजन्तुका लागि अति उपयुक्त हुन्छ ।
साना बुट्यान, सिरु, खरको घाँसेमैदानमा लुकेर बस्न र त्यहाँ पाउने किराफट्यांग्रा खान खरमुजुर र अन्य घाँसेचरीहरू रमाउँछन् । खरमुजुरको भाले सानो घाँस र पोथी झाडी भएका ठाउँमा बस्न रुचाउँछन् । छोटो घाँसमा रमाउने खरमुजुरले धेरै अग्लो घाँस मनपराउँदैन । त्यसैले पानी पर्न थालेपछि संरक्षित क्षेत्रभित्रको घाँस बढ्ने हुँदा बाहिरी क्षेत्रमा विचरण गर्न बाध्य हुन्छन् । खरमुजुरको प्रजनन समयसँग मिल्नेगरी वर्षायाम सुरु हुनुअघि घाँस काट्ने र जलाउने प्रचलन छ, जुन खरमुजुरको लागि मुख्य खतरा हो । त्यसैले हामीले यो समयमा घाँस काट्ने, जलाउने र मानिसहरूको अत्यधिक आवत–जावत जस्ता कार्यलाई रोक्नुपर्छ ।
गुजरातमा भइरहेको १३ औं बसाइँ–सराइ गर्ने प्रजातिको महासन्धि (कन्भेन्सन अफ माइग्रेटेड स्पिेसिज) को सम्मेलनबाट खरमुजुरलाई पनि यस सूचीमा समेटिएको छ । छिमेकी मुलुक भारत, श्रीलंका लगायत १ सय २८ मुलुकले उक्त युएनको महासन्धिमा हस्ताक्षर गरेर पक्षमुलुक बने पनि नेपालले भने हस्ताक्षर गरेको छैन । कन्भेन्सन अफ माइग्रेटेड स्पिसेज (सीएमएस) नामको महासन्धिमा नेपालमा पाइने चरा र अन्य वन्यजन्तु गरी ८० प्रजाति समेटिएका छन् । तीमध्ये ७४ प्रजातिका चरा, ५ प्रजातिका स्तनधारी (हिउँचितुवा, हात्ती लगायत) र सरिसृपबाट एक प्रजाति (घडियाल गोही) छन् भने अब खरमुजुर थपिँदैछ । नेपाल पनि बसाइँ–सराइ गर्ने चरा र वन्यजन्तुको बाटोमा पर्ने भएकाले नेपालले उक्त महासन्धिमा हस्ताक्षर गरेर अग्रसरता लिन आवश्यक देखिन्छ । यसले बसाइँ–सराइ गर्ने चरा र अन्य वन्यजन्तुको आउ–जाउ सुरक्षित बनाउन अन्तर्राष्ट्रिय साझेदारीलाई मजबुतीकरण गर्नेछ । खरमुजुर नेपाल र भारतको तराई क्षेत्रमा आवत–जावत गर्ने हुँदा भू–दृश्य स्तरमा स्थानीयदेखि अन्तरदेशीय साझेदारीमा संरक्षण अभियान सञ्चालन गर्नुका साथै घाँसेमैदानको सञ्जाल विस्तार गर्नु खरमुजुरको दिगो संरक्षणका लागि प्राथमिक आवश्यकता हो ।
भुसाल नेपाल पन्छी संरक्षण संघमा
आबद्ध छन् ।

Page 7
विविधा

दुई शब्दसित डराएको देश

- दुर्गा कार्की

 

अघिल्लो शनिबार कान्तिपुर कन्क्लेभमा ‘नेपालको मी टू किन अघि बढ्न सकेन ?’ भन्ने सत्रमा छलफल भइरहँदा हलिउडका ‘फिल्म मोगल’ भनेर चिनिने हार्वी वाइन्स्टिन विरुद्धको बलात्कार मुद्दाको अभियोजनतर्फको दुई हप्ताभन्दा लामो सुनुवाइ भर्खरै सकिएको थियो । ६ जना महिलाले वाइन्स्टिनले फिल्ममा भूमिका र जागिरको पासो थापेर आफूमाथि गरेको यौन दुर्व्यवहारदेखि बलात्कारसम्मका निकै विस्तृत र ‘भावनात्मक’ बयान दिइरहँदा जुरीसहित पूरै अदालत स्तब्ध भएको थियो । त्योभन्दा बढी स्तब्ध भएकी थिइन्, अभिनेत्री जेसिका म्यान, जब वाइन्स्टिनका वकिलले ‘आफ्नो स्वार्थको लागि वाइन्स्टिनलाई प्रयोग गरेको’ भनेर उल्टै उनलाई आरोप लगाएका थिए ।
सन् २०१७ मा ‘न्युयोर्क टाइम्स’ र ‘न्युयोर्कर’ ले हलिउड फिल्म निर्माता वाइन्स्टिनलाई यौन हिंसाको आरोप लगाएका महिलाको विस्तृत भनाइसहित समाचार सार्वजनिक गरेसँगै सिङ्गो अमेरिका तरङ्गित भयो । त्यसको केही दिनमा वाइन्स्टिनलाई आरोप लगाउने मध्येकी एक अभिनेत्री अलिसा मिलानोले ट्विटरमा लेखिन्, ‘यदि यौनहिंसा वा दुर्व्यवहारमा परेका सबै महिलाले सामाजिक सञ्जालमा मी टू अर्थात् ‘म पनि’ लेख्ने हो भने हामीले मानिसलाई यो समस्या कति ठूलो छ भन्ने कुराको छनक दिन सक्थ्यौँ होला ।’
मिलानोको यो ट्विट रातारात विभिन्न भाषा र स्वरूपमा ८५ देशमा पुग्यो । धेरै महिलाले यौनहिंसा र दुर्व्यवहारका दर्दनाक कथाहरू मी टू ह्यासट्यागको प्रयोग गरेर सामाजिक सञ्जालमार्फत पोखे । इजिप्ट, मेक्सिको, फ्रान्स, स्पेन, इटाली, दक्षिण अफ्रिका, चीन, जापान आदि देशमा मी टूको आआफ्नै किसिमको प्रभाव पर्‍यो । नेपालमा भने यो अभियान सन् २०१८ मा छिमेकी देश भारतमा आएको मी टूको आँधीले उडाएको धुलोजसरी आयो । त्यसपछि बेलाबेला चल्ने सिरसिरे बतासजस्तो भएको छ । यसो किन भइरहेको छ, नेपाली समाजको मी टूप्रतिको मौनता र प्रतिकार केको प्रतीक हो र यसलाई कसरी बग्ने बाटो दिन सकिन्छ भन्नेबारे यहाँनेर केही खोतल्न खोजिएको छ । यो लेख कान्तिपुर कन्क्लेभमा भएको मी टू बारेको छलफललाई निरन्तरता दिने र यसमा थप आवाजहरूको खोजी गर्ने प्रयास हो ।
रश्मिला प्रजापतिले प्रदेश नम्बर ३ का पूर्वमन्त्री र काठमाडौँ महानगरपालिकाका भूतपूर्व मेयर केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाएसँगै सुरु भएको नेपालको मी टू त्रिभुवन विश्वविद्यालय, ललितपुर माध्यमिक विद्यालय हुँदै नेपाली रङ्गमञ्चमा पुगेर अहिले विश्रामको स्थितिमा छ । यस बीचमा नाम नकिटेरै धेरै नेपाली महिलाले आफूले भोगेको यौन दुर्व्यवहार र हिंसाको सिलसिलालाई नेपाली समाजका अगाडि छरपष्ट राखिदिने हिम्मत गरे । यी महिलाको भोगाइप्रति
नेपाली समाजले ‘सेलेक्टिभ सहानुभूति’ देखायो । यस पछाडिको कारण थियो, नाम नकिटेरै लेखमा दिइएको पीडकको हुलिया ।
हरेकपटक जबजब कुनै सञ्चार माध्यममा मी टूबारे खबर आउँछ, देश डराउँछ, थर्थराउँछ । जसका बारेमा खबर आउँछ, ती र तिनका आफन्तजन बाहेक मी टूदेखि काँप्नेहरू सामान्यतः दुईथरी हुन्छन् । एक, निकै ठूलो संख्यामा पुरुषहरू, जसले विगतमा मी टूको घेराभित्र पर्ने काम गरेका छन् । यिनीहरू पनि दुईखाले छन्, एकखाले जो महिलालाई ‘माल’ ठान्छन् र त्यसको उपभोग गर्न पाउनु पुरुष हुनुको नैसर्गिक अधिकार ठान्छन् । अर्काखाले, जो तुलनात्मक रूपमा थोरै होलान्, तर उनीहरूले समयक्रममा भोगाइ, बुझाइ र सिकाइबाट त्यसलाई गलत ठानेर आफूलाई सुधारेका छन् ।
दोस्रो, ती व्यक्तिहरू जो आफू ‍ओभानै छन्, तर जुनसुकै बेला पनि मी टूमा तानिन सक्ने प्रशस्त वा केही मानिसहरूसित नजिकको व्यक्तिगत वा व्यावसायिक सम्बन्ध राख्छन् । यिनीहरूलाई साथीको नाम न्युज हेडलाइन बन्लाभन्दा पनि बनिहाल्यो भने आफूले
कसरी प्रतिक्रिया जनाउने भन्ने विलखबन्दीको स्थिति सम्झेरै डर लाग्छ ।
नेपालको साँघुरो सार्वजनिक वृत्त यिनै व्यक्तिहरू मिलेर बनेको छ, जहाँ अधिकांश पुरुषको वर्चस्व छ । साँघुरो वृत्त भएका कारण यी धेरै मानिस एकअर्काका राम्रादेखि थुप्रै नराम्रा व्यवहारसित विस्तृतमा परिचित छन् । तर उनीहरू विरुद्ध बोल्नेबारे चाहिँ चिताउँदैनन् । किनकि धेरैलाई लाग्छ, यो एक लहरो हो, जसले एकदिन उनीहरू आफैँलाई पनि तान्छ । जसले विगतमा जानी–नजानी सानोतिनो गल्ती गरेका छन्, तर अहिले छोडिसकेका छन्, उनीहरू पनि बोल्न डराउँछन् । किनकि बाहिर चोखो देखिन ढोङ रचेको भनेर पीडितले आफ्नै नाम काड्लान् कि भन्ने डरले बेलाबेला उनीहरूलाई पनि गाँज्छ ।
नेपालमा मी टूका घटनाहरूले पाउनुपर्ने जति चर्चा नपाउनु, पीडकहरूमाथि कुनै खास कारबाही नहुनु र मी टूका सम्बन्धमा बहस र संवाद अघि बढ्न नसक्नुको मुख्य कारण नै सार्वजनिक वृत्तको ठूलो हिस्सा ओगटेका व्यक्तिहरू आफैँ मी टूदेखि डराउनु हो । समाजबाट साथ पाउनुको सट्टा आफ्नै गल्ती देखाउन खोजिनु र पीडकहरू उस्तै इज्जतसाथ खुलेआम घुम्न पाउनुले घटना सार्वजनिक गरेर बाहिर आएका पीडितहरू त थप बोल्नसकेका छैनन् नै, बाहिर नआएका पीडितहरूको पनि हौसला मरेको छ । संरक्षण (पेट्रोनेजको अर्थमा) को संस्कृति गहिरो भएको हाम्रोजस्तो समाजमा महिलाका नाममा संविधान वा ऐनमा जेजति अधिकार सुनिश्चित भए पनि अन्ततोगत्वा उनीहरूले पाउने भनेको ‘दिइएको’ अधिकारमात्र हो । चुवानमा टिकट, राजनीतिक नियुक्ति, फिल्ममा भूमिका वा गीत–सङ्गीत, संस्थामा जागिर वा प्रमोसन, शैक्षिक संस्थानमा छात्रवृत्तिदेखि अवसरसम्म शक्तिको उपभोग गरिरहेका पुरुषहरूले महिलालाई मनलागे जतिमात्र ‘दिने’ गरेको तथ्य नौलो होइन । यस्तोमा आफ्नो अगाडिको करियर, भविष्य, अनि
आफ्नो र परिवारको ‘इज्जत’ जोखिममा पारेर सार्वजनिक रूपमा बाहिर आउनु हाम्रोजस्तो पीडितलाई नै दोषी देख्ने सामाजिक संरचनामा सजिलो कुरा कदापि होइन । पछिल्लो समयमा महिलाहरूमा नाम नतोकेरै हिंसाको आफ्नो कथामात्र भन्ने परिपाटी यसकै सूचक हो । अन्य मानिसहरू पीडकको पक्षमा उभिने, सार्वजनिक रूपमै उसको प्रतिरक्षा गर्ने र उसलाई सामाजिक बहिष्कार गर्न नचाहने प्रवृत्तिका पछाडि पनि धेरै हदसम्म पेट्रोनेजको संस्कृतिले काम गरेको छ । पीडकबाट आफूले पाइरहेको सुविधा वा विगतमा पीडकले आफूमाथि लगाएको ‘गुन’ वा पीडकमाथिको ‘नुनको सोझो’ गर्नुपर्ने हुँदा नेपाली समाज पीडित सत्य बोलिरहेकी छन् र पीडकले गल्ती गरेकै हो भन्ने जान्दा–जान्दै पनि पीडकको साथ दिन बाध्य छ । जबसम्म हामीले यो यथार्थलाई आत्मसात् गर्न सक्दैनौँ, पीडकको पक्षमा उभिनेहरूमाथि एकोहोरो दोषमात्र लगाउनुले समस्या समाधानमा सहयोग गर्दैन ।
त्यसैले पनि मी टूलाई बृहत् बहसको एउटा पाटोको रूपमा हेर्न असाध्यै जरुरी छ । मी टूलाई नेपाली समाजले जुन तरिकाले लियो (वा लिएन), त्यसले प्रस्ट पार्छ, हाम्रो समाज अझै पनि यौनहिंसा र दुर्व्यवहारका घटनालाई अपराधको रूपमा हेर्न तयार छैन । तर मी टूका पीडितहरूले आफ्ना कथा–व्यथामार्फत चिच्याई–चिच्याई भनिरहेको नै हामीमाथि भएको हिंसाको सामान्यीकरण अब मान्य छैन भन्ने हो । हाम्रा मुद्दालाई गम्भीरतापूर्वक लेऊ भन्ने हो । हामीमाथि भएको यौनजन्य हिंसा शारीरिक पीडामा मात्र सीमित छैन, यसले हाम्रो आत्मसम्मान, आत्मविश्वास र सम्पूर्ण जीवनमा पुर्‍याएको क्षति शारीरिक चोटभन्दा कैयौँ गुणा बेसी छ भन्ने हो । मी टूका व्यक्तिगत घटनालाई हामीले समाजका अन्य बृहत् समस्याबारे छलफल गर्ने औजारका रूपमा लिनुपर्थ्यो । तर, एक त नेपाली समाजले यी व्यक्तिगत घटनाहरूलाई उति महत्त्व दिनै उचित ठानेन र जुन तप्काले महत्त्व दियो, त्यसले पनि व्यक्तिगत घटनाभन्दा अगाडि गएर मी टूले देखाइदिएका अरू समस्याहरूबारे छलफललाई अगाडि बढाउन जरुरी देखेन । नेपालमा मी टूले खासै प्रभाव पार्न सकेन भन्ने कुरा धेरै हदसम्म साँचो हो । तर मलाई लाग्छ, यो बुझाइ वा हेराइ मी टूका सन्दर्भमा हामी घटनाप्रेरित बेसी भएर विकसित भएको हो । मी टू अभियानकी निर्माता टराना बर्कले भनेकी छन्, मी टूको सफलता यसले कतिजना शक्तिशाली मान्छेलाई सडकमा ल्यायो भन्नेमा होइन, यसले यौन हिंसामुक्त समाज निर्माण गर्न कस्तो भूमिका खेल्यो भन्नेमा नापिन्छ । नेपालमा मी टूले उल्लेखनीय सफलता हासिल गर्न सकेन भन्ने हाम्रो बुझाइको निर्माण पछाडिका मुख्य कारण हुन्, हामीले मी टूलाई शक्तिशाली पीडकहरू सार्वजनिक गर्ने प्रक्रियाको रूपमा मात्र हेर्नु र नाम लिइएका व्यक्तिलाई कुनै खास सजाय नहुनु । यो साँचो पनि हो । तर जेजति घटना बाहिर आएका छन्, तिनले के भन्छन् भने नेपालमा हरेक क्षेत्रमा यौनहिंसा र दुर्व्यवहार हिजो पनि छ्यापछ्याप्ती थियो र आज पनि छ । त्यसमा पनि दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायका महिला यस्ता हिंसाको सिकार बढ्ता हुने गरेका छन् । पढेलेखेका र ‘माथिल्लो’ जात तथा समुदायका महिलालाई यसबारे मुख फोर्न संरक्षणको संस्कृतिले जति रोकेको छ, यी समुदायका महिलालाई आर्थिक परनिर्भरता, संरचनागत शक्तिविहीनता, राज्यका निकायहरूसँगको पहुँच र विश्वासको अभाव आदिले झन् धेरै मुख थुनेको छ ।
यसको मतलब यो होइन, उनीहरूलाई चिच्याउन मन छैन । दुनियाँले सुन्नेगरी आफ्नो मनभित्र जमेर बसेको बह पोख्न मन छैन । न्यायको भोक छैन वा आफ्नो आघात आत्मसम्मानलाई फेरि ब्युँताउन मन छैन । बोल्ने हिम्मत जुटाउने दुई–चार महिला बाहेक लाखौँ त्यस्ता महिलासम्म मी टूको समानुभूति कसरी पुर्‍याउने ? कसरी यसलाई यौन हिंसामुक्त समाज निर्माण गर्नेतर्फ सामाजिक अभियानको रूप दिने ? अबको मी टू बहस त्यतातिर मोडिन आवश्यक छ ।
मी टू ह्यासट्याग लोकप्रिय भएदेखि यो धेरै देशमा धेरैथरी स्वरूप र आकारमा पुग्यो । दक्षिण अफ्रिकाजस्ता देशमा यसले त्यहाँका महिलाहरूलाई त्यहाँ व्याप्त रहेको फेमिसाइड (महिला भएकै कारण गरिने महिलाको हत्या) तथा बलात्कार आदिका विरुद्ध आवाज उठाउन प्रेरित गर्‍यो । जापानका महिलाहरूले मी टूलाई यौनजन्य हिंसाबाट पीडित महिलाहरूले समानुभूतिका माध्यमबाट एकअर्कालाई नयाँ जीवन खोज्न सहयोग गर्ने काममा वीटू (हामी पनि) का रूपमा उपयोग गरे । चाहने हो भने नेपालमा पनि यसलाई आफ्नै रूप र बृहत् पहिचान दिन सकिन्छ । केही पीडकले उन्मुक्ति पाए भन्दैमा मी टू सेलाउनुपर्छ वा पीडित तथा यो मुद्दाको लागि आवाज उठाउनेहरू हतोत्साही हुनुपर्छ भन्ने छैन । मी टू अभियानकी निर्माता टराना बर्कले भनेकी छिन्, मी टू कुनै पल होइन, यो त अभियान हो । मी टूलाई क्षणमात्रको रूपमा नलिने बित्तिकै मी टूका सम्बन्धमा रोकिएको कुराकानी अगाडि बढ्छ । हरेक साना–ठूला मी टूका आरोप वा कथाहरूको अन्तिम उद्देश्य यी कथाहरू फेरि नदोहोरिउन् भन्ने नै हो । मी टू ह्यासट्याग सुरु गर्ने अमेरिकी अभिनेत्री अलिसा मिलानोले आफ्नी छोरीको लागि बनाएको भिडियोमा भनेकी छन्, आफ्नो जीवनकालमा तिमीले कहिल्यै मी टू भन्नु नपरोस् । वास्तवमा हरेक मी टू सर्भाइभर वा मी टूका पक्षमा आवाज उठाइरहेका व्यक्तिहरूको अन्तिम इच्छा यौन हिंसारहित समाजको निर्माण हो । वा कमसेकम पनि त्यस्तो समाजको निर्माणमा बहस र प्रयासको थालनी हो । यसको लागि पहिलो पूर्वसर्त भनेको अहिले मी टूका सन्दर्भमा भइरहेको कुराकानी अत्यन्तै अपर्याप्त छ भनेर आत्मसात् गर्नु हो ।
मी टू आफैँमा समाधान होइन, तर यो यौन हिंसामुक्त समाज निर्माणको एउटा निकै बलियो अस्त्रचाहिँ हो । हामीले यसलाई यौन हिंसाका सम्बन्धमा समाजलाई संवेदनशील बनाउन थप छलफल र कुराकानी गर्ने अवसरको रूपमा प्रयोग गर्नुपर्छ । हाम्रा परिवार तथा शैक्षिक संस्थाहरूमा यौन, सहमति र आनन्दजस्ता विषयमा खुला र सहज छलफलको सुरुवात गर्ने अवसरका रूपमा यसलाई लिइनुपर्छ । आफ्ना प्रिय मान्छेहरू पनि कतै हिंसाको सिकार पो भएका थिए कि भनेर खोतल्न, उनीहरूलाई सुन्न र विश्वास गर्न समयले जुराइदिएको अवसरको रूपमा यसलाई उपयोग गरिनुपर्छ । सामाजिक प्रतिष्ठा र शक्तिको नकावभित्रबाट आफूभन्दा कमजोरलाई शोषण गर्न पल्किएका मानिसहरूको गुन र नुनको सोझो गर्दागर्दै कतै आफ्ना नानीहरूको आँखामा सोझो हेरेर बात गर्न नसक्ने त भइरहेका छैनौं भनेर आफैँलाई सोध्नुपर्छ । र सबैभन्दा महत्त्वपूर्ण कुरा, जबसम्म नेपाली समाज यी संवाद
सुरु गर्न तयार हुँदैन, यौनहिंसा र दुर्व्यवहार कति
गम्भीर अपराध हो भनेर बुझाउन दुराचारीहरूलाई सबैका अगाडि ‍औँलो ठड्याउन कुनै पनि हालतमा छोड्नु हुँदैन ।

विविधा

पुरुष भाष्य प्रेरित महिला मुक्ति

- लीला लुइटेल

समयले अहिले धेरै महिलालाई शिक्षा प्राप्त गर्ने र स्वावलम्बी हुने अवसर दिएको छ । अहिलेका महिलाहरू परम्परागत रूढी र महिला विरोधी एकलकाँटे व्यवहार विरुद्ध प्रश्न उठाउन सक्षम पनि भएका छन् । फलस्वरूप हाम्रा कतिपय परम्परागत प्रचलन धराशायी हुँदै गएका छन् । तर, हामीले महिला विरोधी क्रियाकलाप भन्दै उठाउने गरेका कतिपय आवाज महिलाका समस्यालाई केन्द्रबिन्दु बनाएर नभई पुरुष निर्मित भाष्यबाट प्रेरित देखिन्छन् । दैनिक व्यावहारिक जीवनका अनेक समस्यालाई सूक्ष्म रूपमा नहेरी पुरुष निर्मित भाष्यलाई नै उदाहरण बनाइएका सन्दर्भ समाजमा
प्रशस्तै छन् । तीमध्ये केहीको चर्चा यस आलेखमा गरिन्छ ।
पहिलो कुरा, तीजको विरोध महिलाले स्वतःस्फूर्त रूपमा गरेको नभएर पुरुष निर्मित भाष्य हो । हुनेखानेले तीजको दरमा लुगा र गहनाको प्रदर्शन गरे र यसबाट नहुनेलाई हीनताबोध हुनगयो भनेर आलोचनाको आवाज उराल्न थालेको बौद्धिक वर्गले केही समय अघिदेखि नै हो । तर यो आवाज महिलाको नभई पुरुष निर्मित भाष्यका रूपमा आएको स्पष्टै देखिन्छ । यसको उदाहरणका रूपमा अहिले बिहे हुनुपूर्व कन्यापक्षमा गरिने हल्दी–मेहन्दीलाई लिन सकिन्छ । हाम्रो समाजमा हल्दी–मेहन्दीजस्ता प्रचलन भित्रिएको धेरै भएको छैन, अनि यस प्रचलनको मूल स्रोत पनि हाम्रो सनातनी वैदिक परम्परा नभएर विशुद्ध हिन्दी चलचित्र एवं सिरियल नै हुन् । स्रोत जे भए पनि अहिले यो चलन भाइरल हुँदै गएको छ । हल्दी–मेहन्दीमा प्रयोग हुने पहिरन, आभूषण एवं शृङ्गार विशिष्ट हुनुपर्ने भूतले हाम्रो मानसिकतामा आक्रमण गरिसकेको छ । यस्ता आभूषणजन्य वस्तुहरू अन्य बेलामा प्रयोग गर्नसक्ने स्थिति पनि सामान्यतया देखिँदैन । हुनेवाला बेहुलीको त कुरै नगरौँ, परिवारका सदस्य लगायत निम्तालुलाई समेत रङ्ग र पहिरनको प्रकार तोकेर उपस्थित हुनका
लागि सगर्व आदेश दिने अहिलेका
शिक्षित चेलीहरूको मानसिकता बुझिनसक्नु छ । आफ्नो विवाहलाई विशिष्ट र स्मरणयोग्य बनाउने चाहना सबैमा हुन्छ, तर हल्दी–मेहन्दीका नाममा भित्रिएको यो विकृतपूर्ण दासतालाई आत्मसात् गरेर आफन्त र साथीभाइलाई समेत बोझदिँदा कस्तो तुष्टि मिल्ला ? हल्दी–मेहन्दीमा उपस्थित हुनका लागि पटकैपिच्छे लुगा र गहनाको जोरजाम गर्न नसक्नेलाई हीनताबोध होला कि नहोला ?
कथित बौद्धिक एवं चेतनशील पुरुषहरूले पनि आफ्ना छोरीचेलीहरूले जारी गरेका आदेशानुसारका पहिरनमा ठाँटिएर कथित यस्ता प्रचलनलाई रमाइ–रमाइ बढावा दिइरहेका छन् । यसबारे उठेका प्रश्नमा ‘खै, हामीलाई त केही थाहा छैन, आइमाईहरूको रहर हो’ भनेर उम्किन खोज्ने त्यस्ता पुरुष मित्रहरू मैले धेरै भेटेकी छु । यसबाट तीजमा चेलीका क्रियाकलापप्रति अनेक व्यङ्ग्य गर्ने बौद्धिक वर्ग एवं बौद्धिक चेत कता जाँदैछ भन्ने स्पष्ट देखिन्छ । यदि तीजको विरोध पुरुष भाष्य थिएन भने अहिले महिलाहरू आफैले आफ्नालागि यस्ता नयाँ–नयाँ खाडल खन्ने थिएनौँ सायद ।
हाम्रो समाजमा क्यान्सरका रूपमा रहेको दाइजो एवं तिलक प्रथाबाट उत्पन्न त्रासदी कसैबाट पनि छिपेको छैन । भ्रूणमै छोरीको हत्या गर्ने प्रचलनको मूल जरोमा यही दाइजो एवं तिलक प्रथालाई लिन सकिन्छ । सम्बद्ध क्षेत्रका प्रशासक एवं नेताहरूले यो कुरा नबुझेका पक्कै होइनन् । यति हुँदाहुँदै पनि यसको उन्मूलन गर्नेतर्फ कसैको ध्यान गएको पाइँदैन । ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ जस्ता आकर्षक नारा अघि सारेर ठूलै काम गरेको भनी क्षणिक लोकप्रियतामै उनीहरू रमाइरहेका छन् । दाइजो तथा तिलक ‘सम्बन्धित परिवारले अमूर्त प्रकारले पनि लिनदिन सक्ने हुनाले यसको नियन्त्रण गर्न अप्ठेरो हुने’ धारणा राखेर उनीहरू यसबाट पन्छिन खोज्छन् । किनकि केही समययता विवाहका अवसरमा गोडा धुँदा प्रयोग हुने चाँदीका करुवा तथा खड्कुलो उनीहरूले नदेखेका होइनन्, अनि प्रतिस्पर्धात्मक रूपमा आफूले पनि नदिएका होइनन् । व्यावहारिक जीवनमा सायदै प्रयोग हुने यस्ता वस्तुको प्रदर्शनी विवाह मण्डपमा देखिनु सामान्य भइसकेको छ । सम्बन्धित परिवारले अमूर्त प्रकारले पनि लिनदिन सक्ने दाइजो तथा तिलकको प्रथालाई नियन्त्रण गर्न अप्ठेरो हुने धारणा व्यक्त गर्ने सरोकारवालाहरूले फिल्डमै गएर सम्बन्धित व्यक्तिलाई कानुनको दायरामा ल्याउने हिम्मत गर्न सक्छन् ? आफ्ना छोरीचेलीहरूका बिहेमा यस्ता वस्तु बहिष्कार गर्ने हिम्मत देखाउन सक्छन् ? सरकारी ढुकुटीमा रजाइँ गर्न पाएर ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ नारा दिनेहरूले म आफ्नो छोराको बिहेमा दाइजो लिन्नँ, छोरीको बिहे पनि दाइजोबिनै हुन्छ भनेर सार्वजनिक रूपमा घोषणा गर्न सक्छन् ? यदि महिला मुक्तिकै लागि दाइजो एवं तिलक प्रथाको विरोध गरिएको भए दाइजोका नाममा यस्ता हास्यास्पद वस्तुको लेनदेन हुँदैनथ्यो ।
शिक्षित महिलाको सङ्ख्या दिनानुदिन बढ्दैछ । सञ्चारगृहहरूको पनि बढोत्तरी हुँदै गइरहेको छ । फलस्वरूप अहिले दिनहुँजसो दाइजो प्रथाको विरोधसहित महिला मुक्ति सम्बन्धी लेख पनि प्रशस्तै प्रकाशित भइरहेका छन् । यस्ता लेख लेख्ने तथा यस्ता लेखको प्रशंसा गरेर नथाक्ने चेतनशील महिलाहरूले पनि महिला विरोधी यस्ता क्रियाकलापमा रमाइ–रमाइ भाग लिइरहेको देख्दा हाम्रो महिला मुक्तिको अभियान केवल पुरुष
निर्मित भाष्यभन्दा अरू केही होइन भन्ने
टड्कारै देखिन्छ ।
अर्कातर्फ महिला मुक्तिबारे लेख्ने तथा प्रगतिवादी कहलिएका पुरुष मित्रहरू महिलाको उन्नति हुन नसक्नुको मुख्य कारकका रूपमा शृङ्गार र सुनका गहना नै रहेको दर्शन छाँटेर थाक्दैनन् । यस्ता पुरुषहरू पनि ससुरालीबाट दाइजोमा पाएका गरगहनामा झिलिक्क परेर हिँड्न पाउँदा गौरवको अनुभव गर्छन् । एकछिनलाई मानिदिऔँ, लौ भैगो, गहना त लगाएर हिँड्न मिल्छ ! वरपक्षले कन्यापक्षबाट दक्षिणामा असर्फी अपेक्षा गर्नु अति हास्यास्पद, विद्रूप एवं लज्जाजनक स्थिति हो भनी बुझ्न हामीलाई अझै कति समय लाग्छ ? यस्तो प्रवृत्तिमा रमाउनेहरूमा आफूलाई शिक्षित, बौद्धिक एवं चेतनशील भनाउन रुचि राख्ने एवं तथाकथित जनवादी एवं प्रगतिवादी राजनीति गर्ने क्रान्तिकारीहरू नै धेरै देखिन्छन् । अझ परम्परागत प्रचलनको सम्मान गरेको हवाला दिने मित्रहरूले ससुरा बाको हाड घोटेर निर्मित सुनका गहना टल्काउँदै महिलाको अधोगतिको कारकका रूपमा रहेको सुनको विरोधमा भाषण गर्नुजस्तो विडम्बना यस धरतीमा अर्को के हुनसक्छ ? यदि महिला मुक्तिकै लागि सुनको विरोध गरिएको भए प्रगतिशील नेताहरू सुनका गहनामा ठाँटिँदैन थिए होलान् ।
उपर्युक्त सन्दर्भहरू महिला मुक्तिका लागि नभएर प्रगतिशील देखिने लहडमा पुरुष निर्मित भाष्य हुन् । अझै पनि महिलालाई र विशेषगरी बुहारीलाई मानवका रूपमा गणना नगर्ने घरपरिवारको सङ्ख्या अगणनीय छ । अर्कातर्फ बुहारीलाई सुनको फुल पार्ने कुखुरीका रूपमा हेर्ने प्रेतले पनि हाम्रो मानसिकतामा डेरा जमाइरहेको छ । यसभन्दा पनि विद्रूप स्थिति राजनीतिक क्षेत्रमा व्याप्त छ । अहिले भनिएका महिला समानताका नाराहरू पनि देखावटीका लागिमात्र भएको तथ्य कसैबाट छिपेको छैन । संविधानले निर्दिष्ट गरेको महिला समानताका सन्दर्भहरूलाई समेत पुरुष सत्ताले ललकार्दै नग्न नृत्य देखाइरहेको यथार्थ पनि सर्वविदितै छ । चुनावी घोषणापत्रमा उल्लेख गरिएका महिला हकहित सम्बन्धी नाराको त कुरा गरिसाध्य छैन भने अरू अमूर्त सन्दर्भका स्थितिहरू सम्हालिनसक्नु बग्रेल्ती छन् ।
युगौँदेखि महिलालाई अन्धकारमा राखी आफू ठालु पल्टेर मानवीय दृष्टिले कलङ्कित देखिने अनेक प्रकारका सुविधालाई पुरुषले अनेक कुतर्क गरी सजिलै छोड्न चाहिरहेको छैन । यसका लागि महिला नै अग्रसर हुनुपर्ने देखिन्छ । यसका लागि अहिलेका शिक्षित एवं चेतनशील छोरीहरूको सशक्त अभियानको खाँचो छ । परम्परागत प्रचलनलाई त्याग्दै जानुपर्ने अवस्थामा अहिले आधुनिक एवं सभ्य देखिने होड गर्दै हामीले कतिपय महिला विरोधी, मानवता विरोधी विकृतिहरू आत्मसात गर्दैछौँ, अनि महिलालाई पुर्ने नयाँ–नयाँ खाडल सिर्जना गरिरहेका छौँ । यसरी बिहे नामका परम्परागत रूढीयुक्त प्रचलनहरू त्याग्नका लागि सक्रिय भूमिका खेल्नसक्ने चेतनशील एवं शिक्षित युवतीहरूले आधुनिक हुने नाममा आफूलाई नयाँ खाडलतिर जाक्दै अर्को विद्रूप स्थितिको सिर्जना गरिएको बारे अत्यन्त गम्भीर हुन जरुरी भइसकेको छ । यसबाट हाम्रो महिला मुक्तिको चेतना कुँजो एवं
पुरुष भाष्य भएको सहजै अनुमान लगाउन सकिन्छ । यस्ता खाडलहरू पुर्दै सभ्य एवं समतामूलक समाजको सिर्जना गर्ने जिम्मेवारी समयले अब नयाँ पुस्ताको जिम्मामा छोडिदिएको छ ।

 

Page 8
विदेश

स्वास्थ्यकर्मीमा बढ्दै संक्रमण

कोरोना भाइरस
‘संक्रमितको उपचारमा ठूलो संख्यामा स्वास्थ्यकर्मी खटिरहेका छन् । उनीहरुमा मानसिक तनाव उच्च छ र संक्रमण हुनसक्ने सम्भावना पनि त्यति नै छ ।’
- एजेन्सी
चीनको वुहानस्थित जिनयिन्तान अस्पतालमा बिहीबार उपचाररत कोरोना भाइरस संक्रमित बिरामीको अवस्था बुझ्दै स्वास्थ्यकर्मी । तस्बिर ः एपी

(बेइजिङ) - नोवल कोरोना भाइरस संक्रमितको उपचार र हेरचाहमा खटिरहेका स्वास्थ्यकर्मीमै संक्रमणको दर बढिरहेको चीनले जनाएको छ ।
‘प्रकोप नियन्त्रण गर्न अग्रपंक्तिमा उत्रिएका स्वास्थ्यकर्मीमै संक्रमणको दर बढिरहेको पाइएको छ,’ चिनियाँ स्वास्थ्य आयोगका उपमन्त्री जेङ यिसिनले शुक्रबार बताए । उनका अनुसार मंगलबारसम्ममा एक हजार ७१६ स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ । उनले संक्रमित स्वास्थ्यकर्मीको संख्यामा वृद्धि भइरहेको पनि बताएका छन् । ‘संक्रमितको उपचारमा ठूलो संख्यामा स्वास्थ्यकर्मी खटिरहेका छन् । उनीहरुले धेरै काम गर्न परिरहेको छ र आराम गर्ने समय पनि कम पाइरहेका छन् । मानसिक तनाव उच्च छ र संक्रमण हुनसक्ने सम्भावना पनि त्यति नै छ,’ झेङले पत्रकार सम्मेलनमा बताए ।
चिनियाँ अधिकारी र अस्पतालले बारम्बार मास्कसहित अन्य सुरक्षात्मक उपकरणमा कमी भइरहेको बताइरहेकै बेला कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी नै उच्च जोखिममा रहेको तथ्य बाहिरिएको हो ।
वुहानस्थित अस्पतालमा भाइरस संक्रमितको उपचारमा संलग्न एक चिकित्सकले एएफपी समाचार एजेन्सीलाई आफू र अन्य १६ सहकर्मीमा संक्रमणको लक्षण देखिएको बताए । अर्की स्वास्थ्यकर्मीले आफूसहित एउटै अस्पतालमा काम गर्ने १०० भन्दा बढी कर्मचारीले क्वारेन्टाइन पार गरेको जनाएकी छन् । सीएनएनलाई उनले बताएअनुसार अस्पतालमा कार्यरत ५०० मध्ये थप ३० जनामा पनि संक्रमण देखिएको छ ।
भाइरसको संक्रमण देखिएलगत्तै चेतावनी दिने चिकित्सक ली वेनलियाङको गत फेब्रुअरी ७ मा मृत्यु भएपछि मात्रै स्वास्थ्यकर्मीका पीडाले सञ्चारमाध्यममा स्थान पाएका थिए । वुहान सेन्ट्रल अस्पतालमा कार्यरत लीले सामाजिक सञ्जालको ग्रुप च्याटमार्फत गत डिसेम्बर ३० मा भाइरस संक्रमणबारे चेतावनी दिएका थिए । उनको चेतावनीलाई अधिकारीले बेवास्ता गरेका थिए भने प्रहरीले ‘अफवाह नफैलाउन’ भनेका थिए ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहीबार कोरोनाका कारण थप १२१ जनाको मृत्यु भएको छ र पाँच हजार ९० संक्रमित पुष्टि भएका छन् । हुबेई प्रान्तको राजधानी वुहानमा गत डिसेम्बरमा भाइरस देखिएसँगै हालसम्म चीनमा संक्रमितको संख्या ६३ हजार ८५१ पुगेको छ भने मृतकको संख्या एक हजार ३८० छ । ५५ हजार ७४८ संक्रमितको विभिन्न अस्पतालमा उच्च निगरानीसाथ उपचार भइरहेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
संक्रमितको पछिल्लो तथ्यांकले प्रकोप भयावह बन्नेतर्फ नदेखिएको युनिभर्सिटी अफ सिड्नीस्थित सेन्टर फर इन्टरनेसनल सेक्युरिटी स्टडिजका संक्रामक रोग विशेषज्ञ अदाम क्रमरादत–स्कटले बताएका छन् । ‘कोरोना भाइरस संक्रमण रोक्न चिनियाँ अधिकारीले सक्दो प्रयास गरिरहे पनि निकै ढिला र कम भएको छ,’ उनले भने ।
चीनसमक्ष एकतर्फ संक्रमणलाई फैलन नदिनु चुनौती छ भने अर्कोतर्फ भाइरस नियन्त्रण गर्न । तसर्थ, उसले हुबेई र वुहानलाई विशेष ध्यान दिइरहेको छ । सहरलाई लगभग बन्द गरिएको छ र देशभरका हजारौं स्वास्थ्यकर्मीलाई त्यहाँ पठाइएको छ । यसैबीच, चिनियाँ वैज्ञानिकले कोरोना भाइरसविरुद्धको दुइटा ‘एन्टिभाइरस ड्रग’ को परीक्षण गरिरहेको स्वास्थ्य आयोगले उल्लेख गरेको छ । उसका अनुसार परीक्षणका प्रारम्भिक नतिजा केही सातामै आउनेछ । वुहान अस्पतालका प्रमुखले संक्रमण भएर निको भएका बिरामीका ‘प्लाज्मा
इन्फ्युजन्स’ ले सकारात्मक प्रारम्भिक नतिजा देखाएको बताएका छन् ।
विश्वका विभिन्न देशले कोरोना संक्रमणपछि आत्तिएर विविध निर्णय लिएको भन्दै विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको छ । उसले भाइरसका कारण मृत्यु हुनेको संख्यामा त्यति धेरै वृद्धि नभएको र यसले महामारीको रूप नलिएको जिकिर गरेको छ । उसले हुबेईबाहेक अन्य क्षेत्रमा भाइरस संक्रमणमा वृद्धि नभएकाले अनावश्यक हल्लाका पछाडि नलाग्न र सावधानीपूवर्क गतिविधि गर्न भनेको छ । चीनका अन्य क्षेत्रसहित विश्वका अरु देशमा पनि संक्रमणको वृद्धि दर कम भएको पनि उसले जनाएको छ । यसैबीच, कोरोना संक्रमण फैलन सक्ने डरका कारण पाँच देशले आफ्ना बन्दरगाहमा आउन रोक लगाएको एउटा क्रुज पानीजहाजलाई कम्बोडियाले स्वागत गरेको छ ।
जापानसहितका पाँच देशका बन्दरगाहमा ‘एमएस वेस्टरड्याम’ नामक पानीजहाजलाई रोक्न अनुमति दिइएको थिएन । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले सिंहानुकभिल बन्दरगाहमा फूलका गुच्छा र परम्परागत पछ्यौरा उपहार दिँदै जहाजलाई स्वागत गरेका छन् । पानीजहाजलाई आफ्नो देशको बन्दरगाहमा आउन अनुमति दिएपछि हुन सेनको विश्वभर प्रशंसा भइरहेको छ । कम्बोडियाको भन्दा राम्रो स्वास्थ्य प्रणाली भएका जापान, चीनको स्वशासित ताइवान, थाइल्यान्ड, फिलिपिन्स र अमेरिका अधीनस्थ गुआमले भाइरस संक्रमणको त्रासमा आफ्ना बन्दरगाहमा उक्त पानी जहाजलाई आउन दिएका थिएनन् ।
पानीजहाजमा रहेका दुई हजार यात्रुमध्ये २० जनाको नमुना जाँच गर्दा कसैमा पनि कोरोना भाइरसको संक्रमण नपाइएको कम्बोडियाली स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाजमा रहेका यात्रुलाई भाडामा विमान लिएर उनीहरूका देश पठाउने तयारी भइरहेको कम्बोडियाले जनाएको छ ।

 

विदेश

सीमामा पर्खाल लगाउन थप बजेट माग

- एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत सेप्टेम्बरमा क्यालिफोर्नियास्थित आटे मेसामा अमेरिका–मेक्सिको सीमा पर्खालको निरीक्षण गर्दै । फाइल तस्बिर ः रोयटर्स

वासिङ्टन – मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन अमेरिकी रक्षा मन्त्रालयले थप बजेट माग गरेको छ ।
पर्खाल लगाउन सैन्य बजेटबाट करिब ४ खर्ब रुपैयाँ वृद्धि गरिदिन देशको संसद्समक्ष मन्त्रालयले भनेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासी र लागूऔषध कारोबारलाई रोक्न अमेरिका र मेक्सिकोबीचको सीमामा पर्खाल लगाउने प्रतिबद्धता यसअघिको चुनावी अभियानमा व्यक्त गरेका थिए । उनी अहिले दोस्रो कार्यकालका लागि चुनावी दौडमा छन् ।
रक्षा मन्त्रालयले पर्खाल लगाउन थप बजेट माग गरेको संसद्ले पुष्टि गरेको छ । बिहीबार प्राप्त मन्त्रालयको पत्रमा राष्ट्रिय सुरक्षा र हतियार कार्यक्रमबाट थप रकम उपलब्ध गराउन भनिएको उसले जनाएको छ ।
पर्खाल लगाउन थप रकम माग गरेको विषयले संसद्मा विपक्षी डेमोक्र्याटिक दलसँग विवाद हुन सक्ने सम्भावना रोयटर्सले उल्लेख गरेको छ । देशको सैन्य बजेटबाट पर्खाल निर्माण गर्ने भन्ने ट्रम्प नीति खतरनाक र गलत रहेको डेमोक्र्याटिक दलले बताउँदै आएको छ ।
‘राष्ट्रपति ट्रम्पले पुनः एकपटक शक्ति पृथकीकरणको सिद्धान्तलाई अवमूल्यन गरेका छन् र रक्षा स्रोतलाई काम नलाग्ने सीमा पर्खालमा खर्च गर्ने भनेर हाम्रो सुरक्षालाई खतरामा पारिरहेका छन्,’ डेमोक्र्याटिक प्रतिनिधि निता लोवे र पिट भिस्क्लोस्कीले एक संयुक्त विज्ञप्ति जारी गर्दै बताएका छन् ।
अमेरिकी सदनमै प्रतिनिधित्व गर्ने रिपब्लिकन वरिष्ठ नेता म्याक थर्नबेरीले पनि थप बजेट माग गर्ने रक्षा मन्त्रालय (पेन्टागन) को कदम ‘संसद्को संवैधानिक अधिकारको विपरीत भएको’ बताएका छन् । पेन्टागनका वरिष्ठ अधिकारीले भने रक्षामन्त्री मार्क एस्परले १७७ माइल अर्थात् २९० किलोमिटर सीमा पर्खाल लगाउन रक्षा बजेटलाई रकमान्तर गरेर ४ खर्ब दिनेबारे स्वीकृति जनाइसकेको जानकारी दिएका छन् ।
अमेरिका–मेक्सिको सीमामा लगभग ४३५ किलोमिटर पर्खाल लगाउन गत महिनै ट्रम्प प्रशासनले पेन्टागनलाई आदेश दिएको थियो । सो पर्खाल लगाउन ५ खर्ब लाग्ने बताइएको छ ।

विदेश

अन्टार्टिकामा तापक्रम उच्च

- एजेन्सी

अन्टार्टिका – विश्वभर जलवायु परिवर्तनको असर देखिरहेकै बेला पृथ्वीको दक्षिणी ध्रुव अन्टार्टिकामा पनि त्यसको असर देखिएको छ । उक्त क्षेत्रको तापक्रममा वृद्धि भएको अनुसन्धानकर्ताले बताएका छन् ।
पहिलोपटक अन्टार्टिकाको तापक्रममा २० डिग्री सेल्सियसले वृद्धि भएको छ । अनुसन्धानकर्ताका अनुसार उक्त महादेशको तटीय क्षेत्रमा रहेको टापुमा तापक्रम २०.७५ डिग्री सेल्सियस पुगेको हो । ‘अन्टार्टिकामा यति उच्च तापक्रम कहिल्यै नदेखिएको’ अनुसन्धानमा संलग्न ब्राजिलियन वैज्ञानिक कार्लोस स्काफेरले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई बताए ।
उनले यही फेब्रुअरी ९ मा मापन गरिएको तापक्रमबारे बोलेका हुन् । ‘यो एक दिनको तापक्रम हो, वृद्धिका घटना धेरै भएको हुन सक्छ,’ उनले भने । यद्यपि यसलाई मात्र आधार बनाएर अन्टार्टिकामा जलवायु परिवर्तनको असर देखिएको भनिहाल्न भने नमल्निे उनले जिकिर गरेका छन् र थप अनुसन्धानमा जोड दिएका छन् ।
तापक्रमलाई लिएर अन्टार्टिका महादेशमा गत साता पनि एउटा रेकर्ड कायम भएको थियो । त्यसबेला अन्टार्टिका प्रायद्वीपमा १८.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । ब्राजिली अनुसन्धानकर्ता स्काफेरले भने तापक्रमको पछिल्लो रेकर्ड महादेशको उत्तरी भेगमा रहेका सोही प्रायद्वीपअन्तर्गतकै टापुका सञ्जालको एउटा भाग सेमर टापुस्थित मनिटरिङ स्टेसनमा लिएका थिए ।
तापक्रमको रेकर्ड उच्च मापन गरिए पनि आफ्नो अनुसन्धान बृहत् अध्ययनको क्षेत्र नभएकाले अन्टार्टिकामा जलवायु मौसम परिवर्तनको ट्रेन्ड कस्तो छ भनेर अनुमान गर्न भने यसलाई प्रयोग गर्न नमिल्नै वैज्ञानिक स्काफेरले उल्लेख गरेका छन् । ‘भविष्यमा हुने जलवायु परिवर्तनबारे यो तथ्यांकलाई प्रयोग गरेर अध्ययन गर्न सकिँदैन । यो तथ्यांकीय बिन्दु मात्रै हो,’ उनले भने, ‘सो क्षेत्रमा केही फरक भइरहेको छ भन्ने संकेतको एउटा सानो उदाहरण भने यसलाई लिन सकिन्छ ।’
संयुक्त राष्ट्रसंघको विश्व मौसम विभाग संगठन (डब्लूएमओ) का अनुसार अन्टार्टिको तापक्रम पछिल्लो ५० वर्षभित्र लगभग ३ डिग्री सेल्सियसले वृद्धि भएको छ र पश्चिमी तटमा रहेका करिब ८७ प्रतिशत हिमनदीले आफ्नो बाटो परिवर्तन गरेका छन् ।
‘ग्लोबल वार्मिङ’का कारण पछिल्ला १२ वर्षमा हिमनदीले द्रूतगतिमा आफ्ना पथ परिवर्तन गरेका छन्,’ डब्लूएमओले भनेको छ । गत महिना अन्टार्टिकामा सबैभन्दा न्यानो जनवरीको रूपमा रेकर्ड भएको थियो ।
‘ग्लोबल वार्मिङ’ का कारण पृथ्वीको दक्षिणी ध्रुव तीव्र गतिमा पग्लिरहेको र यस्तै अवस्था रहे एक दिन विकराल अवस्था आउने चेतावनी वैज्ञानिकहरूले दिँदै आएका छन् ।
यही कारणले केही शताब्दीभित्रै विश्वभरका सामुद्रिक तह कम्तीमा तीन मिटर वृद्धि हुने पनि बताएका छन् । अन्टार्टिक वातावरणीय क्षेत्रमा पर्ने महादेश, टापु र समुद्रसहित समग्र अन्टार्टिकामा यसअघिको उच्च तापक्रम सन् १९८२ जनवरीमा मापन गरिएको थियो । त्यसबेला १९.८ डिग्री सेल्सियस थियो । गत जुलाईमा आर्टिक क्षेत्रले आफ्नै २१ डिग्री सेल्सियस तापक्रमको रेकर्ड तोडेको थियो ।

विदेश

‘आपराधिक व्यक्ति किन उम्मेदवार ?’

- एजेन्सी

नयाँदिल्ली – भारतको सर्वोच्च अदालतले आपराधिक पृष्ठभूमिका व्यक्तिलाई किन उम्मेदवार बनाएको भनेर राजनीतिक दललाई प्रश्न गर्दै यसको उचित जबाफ दिन भनेको छ । ‘देशमा भएका विभिन्न निर्वाचनमा के कति व्यक्तिको आपराधिक रेकर्ड छ, त्यो सबै उपलब्ध गराउ,’ बिहीबार जारी एक आदेशमा भनिएको छ– ‘उम्मेदवारका आपराधिक रेकर्ड भए त्यसलाई तत्काल सार्वजनिक गर ।’
कोही उम्मेदवारका त्यस्ता रेकर्ड भए चुनावमा प्रतिस्पर्धा गर्न किन छानियो भन्नेबारे स्पष्टीकरण दिन पनि अदालतको निर्देशन छ । ४८ घण्टाभित्र आपराधिक पृष्ठभूमिका उम्मेदवारबारे पार्टीका वेबसाइट र सामाजिक सञ्जालमा विवरण राख्न भनिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उम्मेदवारमाथिका अभियोगबारे निर्वाचन आयोगलाई जानकारी नदिए अदालतविरुद्धको अवहेलना मुद्दा सामना गर्न चेतावनी पनि दिइएको छ ।
आपराधिक पृष्ठभूमिका व्यक्ति उम्मेदवार बन्ने परिपाटीमा व्यापक वृद्धि भएको भन्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । आदेशमा राजनीतिक दलले किन ‘स्वच्छ छवि भएका’ उम्मेदवारलाई छान्दैन भनेर प्रश्न पनि गरिएको छ । दाग लागेका व्यक्तिलाई उसको जित्न सक्ने क्षमताका कारण निर्वाचन प्रतिस्पर्धामा उतारेको भनेर स्पष्टीकरण दिइए मान्ने नहुने चेतावनी पनि उच्च न्यायिक निकायले दिएको छ ।
पर्यवेक्षणसम्बन्धी एक संस्था ‘द एसोसिएसन फर डेमोक्र्याटिक रिफर्म्स (एडीआर) का अनुसार भारतमा सन् २०१९ का चुनावमा निर्वाचितमध्ये ४३ प्रतिशत आपराधिक पृष्ठभूमिका छन् । सन् २०१४ मा उक्त संख्या ३४ प्रतिशत थियो ।
त्यसअघि सन् २००४ मा २४ र सन् २००९ मा
३० प्रतिशत निर्वाचित उम्मेवार आपराधिक पृष्ठिभूमिका थिए । एडीआरलाई उल्लेख गर्दै बीबीसीले जनाएअनुसार निर्वाचित व्यक्तिमाथि लागेका केही मुद्दा सामान्य प्रकृति वा राजनीतिक रूपमा प्रेरित भए पनि अधिकांशमाथि चोरी, सरकारी अधिकारीमाथि आक्रमण, हत्या र बलात्कारजस्ता मुद्दा छन् ।

Page 9
स्वास्थ्य

संक्रमणबाट बच्न आयुर्वेद

- अतुल मिश्र

दुई महिनायता विश्वभर निमोनिया गराउन सक्ने कोभिड–२०१९’ अर्थात् नोवल कोरोना भाइरसको आतंक छ ।
नयाँ हुन् वा पुराना, समय–समयमा अत्यधिक मात्रामा संक्रमण फैलिएर विश्वभर स्वास्थ्य संकटको स्थिति उत्पन्न हुन्छ ।
शरीरलाई यस्ता संक्रमण वा रोगबाट स्वस्थ राख्न आन्तरिक रोग प्रतिरोधक क्षमता (इम्युनिटी) लाई बढाउनुपर्नेमा विशेषज्ञ औंल्याउँछन् । शरीरको प्रतिरक्षा प्रणाली बलियो हुँदा थुप्रै रोगबाट जोगिनुका साथै स्वस्थ जीवन बिताउन सजिलो हुने उनीहरूको भनाइ छ ।
प्रतिरक्षा प्रणाली बलियो भए रोग वा संक्रमणबाट बच्ने र स्वस्थ जीवन बिताउन सकिने आयुर्वेदमा उल्लेख छ । आन्तरिक प्रतिरक्षा प्रणाली बलियो बनाएर अन्य व्यक्तिको सहयोगबिनै सय वर्षसम्म स्वस्थकर जीवन बाँच्ने अभ्यासबारे आयुर्वेदमा जानकारी दिइएको भन्दै स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय भन्छन्, ‘आयुर्वेदअन्तर्गतको व्याधि क्षमत्व (रोगआदिविरुद्घको शारीरिक क्षमता) को माध्यमले विभिन्न रोग संक्रमणलाई पछार्दै स्वस्थकर जीवनयापन गर्न सकिन्छ ।’
आयुर्वेदले अंग्रेजीको ‘इम्युनिटी’ शब्दलाई ‘बल’ का रूपमा परिभाषित गरेको छ । आयुर्वेदले ‘बल’ लाई जीवनसमेत भनेको छ र सोही बललाई ‘ओज’ अर्थात् ‘इम्युनिटी’ भनिन्छ ।
आयुर्वेद अनुसार ‘ओज’ मै जीवन निर्भर रहेको औंल्याउँदै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस, कीर्तिपुरका क्याम्पस प्रमुख डा. शिवमंगल प्रसाद भन्छन्, ‘सहज, कालज र इकतीकृत गरी बललाई तीन प्रकारमा बाँडिएको छ ।’
वंशानुगत रूपमै प्राप्त हुने इम्युनिटीलाई सहज बल र समयअनुसार शरीरमा आफैं विकसित हुनेलाई कालज बल भनिन्छ । खानपान, व्यायाम, जीवनशैली, औषधि आदिका माध्यमबाट योजनापूर्वक हासिल गरिएका इम्युनिटीलाई इकतीकृत बल भनिन्छ ।
शरीर स्वस्थ वा अस्वस्थ इम्युनिीटकै कारण हुने भएकाले बाल्यकालदेखि वृद्घावस्थासम्म इम्युनिटीलाई कायम राख्न विभिन्न प्रयास गर्नुपर्छ । ‘इम्युन सिस्टम’ अर्थात् शरीरको प्रतिरक्षा प्रणाली कुनै अंग वा इकाई नभएर शरीर रक्षाका लागि मिलेर काम गर्ने कोषिका, तन्तु र अंगका सञ्जाल हुन् । यसले रोग उत्पन्न गर्ने पैथोजेन्स र ट्युमर कोष आदिलाई पहिचान गरेर आफनो सञ्जालको सहयोगीसँग मिलेर त्यसलाई नष्ट गर्छ र शरीरलाई स्वस्थ राख्छ ।
‘यो सञ्जालले हाम्रो शरीरभित्र घूसपैठ गर्ने विषाणु, परजीविलगायतकाको पहिचान गरेर नष्ट गर्ने प्रयास गर्छ भने शरीरको स्वस्थ कोषिका र तन्तुसमेत चिन्छ,’ डा. शिवमंगलप्रसाद भन्छन् ।
शरीरमा वंशानुगत रूपमा आएको विकार र इम्युनिटीको कमीलाई परिवर्तन गर्न नसकिने भए पनि यसलाई आयुर्वेदिक जीवनशैलीले केही हदसम्म सुधार गर्न सकिने उनी औंल्याउँछन् । उनका अनुसार बाल्यकालमै इम्युनिटी बढाउन प्राचीनकालदेखि नै स्वर्ण प्राशनलगायतका विभिन्न प्रकारका आयुर्वेदिक खोपसमेत उपलब्ध छ ।
अझै पनि असार पूर्णिमाका बेला ललितपुरका केही क्षेत्रमा ‘प्लास बीउ’ को चूर्णलाई चाकुमा मिलाएर बालबालिकालाई दिइने चलन रहेको जानकारी दिँदै उनी भन्छन्, ‘हाम्रो संस्कृतिमै रहेको यो परम्परा कृमिनाशक हो यसले जुकालगायतका परजीवि नाश गर्छ ।’
नेपाललगायतका भारतीय उपमहाद्वीपमा जीवनको विज्ञान आयुर्वेदलाई ऋषिमुनिले संस्कृति, चलन, चाडवाडको अंग नै बनाएर शरीरलाई स्वस्थ राख्ने हतियारको रूपमा विकसित गरेको समेत कैयौं विशेषज्ञ औल्याउँछन् ।
‘भान्साकोठामा उपयोग गरिने जिरा, धनिया, टिम्मुर, अदुवा, लसुन, बेसारलगायतका विभिन्न मसला, फलफूल सागसब्जीका सन्तुलित र समुचित उपयोगले हामीलाई विभिन्न रोगविरुद्घको शक्ति प्राप्त हुन्छ,’ डा.उपाध्याय भन्छन् । उनका अनुसार सांस्कृतिक रूपमै खानपानमा बेसारको निरन्तर उपयोगले भारतीय उपमहाद्वीपमा पश्चिमाको दाँजोमा धेरै कम मात्रामा पेटको क्यान्सर हुने गरेको छ ।
हाल बेसारमा क्यान्सरविरोधी कर्क्युमिनलगायतका विभिन्न शारीरिक अवस्थामा उपयोग गरिने स्वास्थ्यप्रद रसायनहरू रहेको पत्ता लागेको उनले जानकारी दिएका छन् । आयुर्वेदले स्वस्थ रहनका लागि दिनहुँ ६ वटा रस मिलाएर खाना खानुपर्ने आवश्यकतामा जोड दिएको छ । मधुर, अम्ल, लवण, कटु, तिक्त र कषाय रसले शरीरलाई चाहिने माइक्रोन्युट्रिएन्टसलगायतका सबै थोक परिपूर्ति गर्छ ।
डा.उपाध्याय भन्छन्, ‘मौसमअनुसारका फलफूल, सागपात र तरकारी सेवन गर्ने र आयुर्वेदिक जीवनशैली र ऋतुचर्या अपनाउने हो भने विभिन्न संक्रमण, रोगव्याधिबाट स्वस्थ रहन सकिन्छ ।’
स्वस्थकर जीवनशैली, खानपान र योग व्यायामको समुचित उपयोगले रोग संक्रमणबाट जोगिँदै स्वस्थ भएर बाँच्ने प्रक्रियामा सघाउ पुग्ने आयुर्वेदमा उल्लेख छ ।
शरीरको हरेक कोषलाई कार्य सञ्चालन गर्न अक्सिजन अत्यावश्यक छ । कोषको कार्य सञ्चालनमा कमी आउनु भनेको शरीरको अवस्थामा गिरावट आउनु हो ।
यसैले फोक्सोले राम्ररी काम गर्न विभिन्न व्यायामलगायतका प्राणायाम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै डा.उपाध्याय भन्छन्, ‘यसले फोक्सोको क्षमता बढाएर अधिकतम अक्सिजनलाई कोषसम्म पुर्‍याउँछ ।’
मानव शरीरका कोषले अधिकतम अक्सिजन प्राप्त गर्नु भनेकै तिनका कार्यक्षमता बढाउनु हो । श्वासप्रश्वास प्रणाली र फोक्सो आदि स्वस्थकर भए एक्कासि ज्यान लिने खालका धेरै रोग र संक्रमणबाट बँच्न सकिन्छ ।
हाल विश्वव्यापी रूपमै ६५ वर्षमाथिका व्यक्तिको मृत्युको प्रमुख कारण श्वासप्रश्वासको संक्रमण, इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) र विशेषगरी निमोनिया भएका विशेषज्ञ औंल्याउँछन् ।

जैविक घडीलाई अपनाऔं
आयुर्वेदका चिकित्सकका अनुसार हाल मानिसलाई विभिन्न रोगव्याधि लाग्नुमा शरीरका जैविक घडीविरुद्घका व्यवहार पनि एक कारण हो ।
सुत्ने र उठ्ने समय निर्धारण गर्ने जैविक घडी (बायोलजिकल क्लक) मा समस्या भए विभिन्न रोग र संक्रमणका साथै अनिद्राले मानिस ग्रस्त हुने चिकित्सक बताउँछन् ।
आयुर्वेदअनुसार भागदौडपूर्ण जीवनमा हाल मानिसभित्रका जैविक घडीको समय परिवर्तित भइसकेको छ । हामी सुत्ने समयमा उठ्ने र उठ्ने समयमा सुत्ने गरेका छौं ।
दिनको प्रारम्भ सूर्य उदाउनुभन्दा अघि र राति १० बजेतिरै सुतिन्छ भने मात्रै शरीरभित्रका घडीले सही काम गर्छ । ‘सूर्योदयभन्दा पनि एक प्रहर (३ घण्टा) पहिले उठ्ने र सूर्यास्तको प्रथम प्रहरभित्र खानुपर्छ,’ डा. शिवमंगल प्रसादका भन्छन् । सूर्य ऊर्जा भएकाले यसको उदय हुनासाथ दैनिक काममा लाग्नुपर्ने र सूर्यास्तको ३ घण्टाभित्र खाएर सुत्नुपर्ने आयुर्वेदको मान्यता रहेको उनको भनाइ छ ।
पृथ्वीको परिक्रमा गर्ने गति, समयअनुसार नै मनुष्य, जीवजन्तु, रुखबिरुवा आदि सबैले जैविक रूपमा आफूलाई त्यसअनुकूल बनाएका हुन् । स्वस्थकर अवस्थाअन्तर्गत थकित भएपछि सम्पूर्ण प्राणीजगतको रिफ्रेसमेन्टको अवस्था प्राकृतिक निद्रा हो । सदैव सुतेको भान हुने निद्रा वैकारिक निद्रा हो ।
प्राकृतिक जीवनशैली भएकाको निद्रा प्राकृतिक रूपमै स्वाभाविक तवरले आउँछ । आयुर्वेदले हजारौं वर्षदेखि अपनाएको जैविक घडीको बाटो हाल आधुनिक विज्ञानले समेत प्रमाणित गरिसकेको छ ।
शरीरको जैविक घडी (बायोलजिकल क्लक) को कार्य प्रणाली बताएर गत वर्ष वैज्ञानिकत्रय जेफ्रे सी हल, माइकल रोसवास र माइकल
यङले चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
आफ्ना अनुसन्धानमा ती वैज्ञानिकले जैविक घडीको सिधा तालमेल पृथ्वीको परिक्रमासँग हुने बताएका थिए । यसैले शरीरभित्र भएको जैविक घडीलाई दिन र रातिको पूर्ण अनुभूति हुने भएकाले हामीलाई राति निद्रा लाग्छ र बिहान एउटा समयमा निद्रा आफैं टुट्छ ।
अध्ययनअनुसार जैविक घडीको प्रत्यक्ष तालमेल पृथ्वीको गतिसँग हुन्छ । यो लयबद्घ हुन्छ । राति ९ बजे मेलाटोनिनको श्रावले गर्दा निद्रा आउन थाल्छ । राति दुई बजे गहिरो निद्राको समय हुन्छ भने बिहान साढे ४ बजे शरीरको तापक्रम सबैभन्दा कम हुन्छ । यस्तै बिहान रक्तचापमा वृद्घि हुन थाल्छ, यही निद्रा खुल्ने समय हुन्छ ।
वैज्ञानिकत्रयको खोजले पृथ्वीको परिवर्तनसँग सामन्जस्य कायम गर्न मानिस, रुखबिरुवा, जनावर आदिले कसरी जैविक लयअनुकूल बनाउँछन् भन्ने देखाएको छ । पृथ्वीको परिक्रमाअनुसार आफूलाई ढाल्न आन्तरिक जैविक घडीअनुसार मानिस सुत्ने गर्छ ।
अध्ययनमा योसमेत पाइएको छ कि हाम्रो जीवनशैली र बाहिरी पर्यावरणका कारणले जैविक घडीको दीर्घकालीन प्रबन्धन हुन नसक्दा रोगको खतरासमेत बढ्छ ।

इम्युनिटी बढाउने जडिबुटी
परम्परागत रूपमा नेपालीले हजारौं वर्षदेखि आफूलाई स्वस्थ राख्न दिनहुँ उपयोग गर्ने जडिबुटी, मसला, खाद्यपदार्थ आदिको समुचित प्रयोगले इम्युनिटी बढाउन सघाउ पुग्ने विज्ञहरू बताउँछन् ।
गुर्जो अर्थात् चिनीको लहरोसमेत भनिने ‘गिलोय/गुडुची’ रोग प्रतिरोधक क्षमता बढाउन अत्यन्त राम्रो मानिन्छन् । यसले एन्टिअक्सिडेन्टको काम गर्ने भएकोले चियाजस्तै पकाएर खानु उपयोगी हुने औंल्याउँदै डा.उपाध्याय भन्छन्, ‘हर्रो र अमला अत्यन्त फाइदाजनक छ, दिनहुँ एउटा हर्रो खायो भने १० वर्ष आयु बढ्ने भनिन्छ, वास्तवमा यसले हाम्रो कोषको आयु बढाउँछ ।’
गुर्जोको लहरोका स–साना टुक्रालाई राति पानीमा राखेर बिहान नियमित रूपमा पिउँदासमेत रोग प्रतिरोधक क्षमता बढ्ने, भोक लाग्ने र स्वस्थ रहन फाइदाकारी अभ्यास हुने डा. शिवमंगल प्रसाद बताउँछन् ।
त्यस्तै अश्वगन्धाको जराको पाउडर, सतावरीको पाउडर, तुलसीको पात, अमला आदिको नियमित उपयोगले शरीरलाई स्वस्थ राख्दै विभिन्न संक्रमणबाट जोगाउँछ ।
अझ तुलसीको पात र बेसार वा गुर्जा र बेसारलाई चियाजस्तै पकाएर दिनहुँ सेवन गर्नाले ब्याक्टेरिया र भाइरसविरुद्घको शक्ति प्राप्त हुने डा. उपाध्याय औंल्याउँछन् ।
पहाडतिर पाइने चुत्रो, दारु हरिद्राको बोक्राको पाउडरले समेत इम्युनिटी बढाउने गर्छ । अझ टिम्मुर, मरिच, तेजपात, आदिमा समेत इम्युनिटी पावर बढाउने शक्ति रहेको हुन्छ ।
श्वासप्रश्वाससम्बन्धी समस्यामा गाउँघरमा उपयोग गरिने असुरोमा एन्टिभाइरल गुण रहेको औंल्याउँदै डा.उपाध्याय भन्छन्, ‘हजारौं
वर्षदेखि दिनहुँ हामीले प्रयोग गर्ने जडिबुटी र मसलाले शरीरमा कुनै बिगार नगर्ने प्रमाणित भइसकेका छन् ।’
यस्ता जडिबुटी र मसलामा एन्टिभाइरल, एन्टिब्याक्टेरियल, एन्टिफंगललगायतका थुप्रै गुण रहेका छन् । चिकित्सकसँग सल्लाह लिएर यस्ता जडिबुटीको प्रयोग गर्नु झन् उपयोगी हुन्छ ।

स्वास्थ्य

दहीले दीर्घायु

- कान्तिपुर संवाददाता

दही पञ्चामृतमध्येको एक परिकार मानिन्छ । यसलाई हिन्दु धर्मावलम्बीले धार्मिक कार्यमा समेत उपयोग गर्छन् । जन्मदेखि मृत्यु संस्कारसम्ममा यसको उपयोग हुन्छ । दहीलाई प्राचीनकालदेखि नै पाचनका लागि समेत उपयोग गरिन्छ भने यो अम्लपित्तका लागि पनि लाभकारी हुन्छ ।
दही विश्वभरि नै स्वास्थ्यप्रद भोजनमध्ये एक मानिन्छ । मान्छेले खानमा दहीको उपयोग कम्तीमा ४ हजार पाँच सय वर्षदेखि गरिरहेको मानिन्छ । चिकित्सकको अनुसार, दही शरीरलाई रोगबाट टाढा राखेर स्वस्थ र दीर्घायु बनाउन उपयोगी हुन्छ । बच्चादेखि बूढापाकालाई समेत दही सजिलै पच्छ र पचाउँछ पनि ।
दही खानाले रोग प्रतिरोधक क्षमतासमेत बढ्छ । दही जुन ब्याक्टेरियाका कारण बन्छ त्यसले शरीरमा भइरहेको कुनै पनि संक्रमणबाट सुरक्षित राख्छ । यो सिधै शरीरमा सेतो रक्त कणिकामा काम गर्छ र शरीरलाई रोग प्रतिरोधक क्षमता कम भएर हुने रोगबाट बचाउँछ । यो ती व्यक्तिहरूको लागि राम्रो हो जसलाई दूधबाट एलर्जी हुन्छ । उनीहरू दही सेवन गरेर यसबाट पोषकतत्त्व पाउन सक्छन् ।
दहीको नियमित सेवन गर्ने व्यक्तिमा गामा इन्टरफरान नुन प्रोटिनको मात्रा बढी पाइन्छ । जसले यसको रोग प्रतिरोधक क्षमतालाई बढी सुदृढ बनाउँछ । थुप्रै अनुसन्धानहरूका अनुसार, दहीको नियमित सेवनले मुख्यतः ठूलो आन्द्रा र कोलोनको क्यान्सरसहित अन्य थुप्रै क्यान्सर रोगबाट समेत सुरक्षा दिन्छ । दहीको सबैभन्दा ठूलो विशेषता यसमा ल्याक्टिक अम्ल बढी मात्रामा हुनु हो । यसले गर्दा ठूलो आन्द्रामा दुर्गन्ध उत्पन्न गर्ने जीवाणु अर्थात फुटरे फेक्टिभ ब्याक्टेरियाको विकासलाई रोक्छ । यो जीवाणुलाई ‘बी कोली’ को नामले समेत चिनिन्छ । अर्थात् ठूलो आन्द्रामा जीवाणुको सन्तुलन बनाइराख्न दहीको नियमित सेवन गर्नुपर्छ ।
दूधमा ल्याक्टोज पाइन्छ तर दहीमा हुने ल्याक्टोज भने सजिलै पच्नुका साथै पेटलाई समेत आराम दिन्छ । दहीमा मिनरल्स र क्याल्सियम बढी मात्रामा हुन्छ । आस्टियोपोरोसिसले ग्रस्त रोगीलाई दही खाने सल्लाह दिइन्छ । दहीमा कार्बोहाइड्रेट, प्रोटिन र क्याल्सियम बढी मात्रामा पाइन्छ । यसैले हाई कोलेस्ट्रोलको रोगीका लागि पनि यो फाइदाजनक छ । यसमा भिटामिन ‘बी ६’ र भिटामिन ‘बी १२’ समेत पाइन्छ ।
इन्टरनेसनल जर्नल अफ ओबेसिटीमा प्रकाशित एक अध्ययनअनुसार, कम बोसो भएको दहीको सेवन गर्नाले मोटोपना घटाउन मद्दत गर्छ ।
प्रोबायोटिक आहार अर्थात् दहीलाई एलर्जी रोकथामका लागि समेत उपयोग गर्न सकिने विभिन्न अध्ययनहरूले देखाएको छ । वैज्ञानिक रोजर काजका अनुसार जुन व्यक्तिको परिवारमा एलर्जीको समस्या छ उनहरू यो प्रोबायोटिक अर्थात् दहीलार्ई रोकथामको रूपमा उपयोग गर्न सक्छन् । प्रोबायोटिक आहार अति लाभप्रद, अति सूक्ष्म जीवाणुले युक्त हुन्छन् ।
दहीले स्वस्थ जीवन मात्र दिँदैन, यो सौन्दर्य बढाउनसमेत सहयोगी हुन्छ । दही कपालमा लगाउँदा यसले चायाबाट समेत मुक्ति दिलाउँछ । यस्तै अनुहारमा लगाउँदा छाला टल्किन्छ । घामले डढेको छालामा दही लगाउनु लाभदायक हुन्छ ।
सातामा चारपटक दहीको सेवन गर्नाले बच्चामा दन्त क्षयको सम्भावना २२ प्रतिशत कम हुनेसमेत एक अध्ययनले देखाएको छ । उक्त अध्ययन फुकुओका र टोकियो विश्वविद्यालयका विशेषज्ञहरूले गरेका थिए । उनीहरूले दही दाँतमा सुरक्षात्मक प्रोटिनजस्तै काम गर्ने र हानिकारक एसिडबाट दाँतको रक्षा गर्ने पत्ता लगाएका थिए । यो अनुसन्धानलाई अस्ट्रेलियाली वैज्ञानिकहरूले समेत सहयोग गरेका थिए ।
एक कप दहीमा करिब ३ सय ७० मिलिग्राम क्याल्सियम हुन्छ, जो एक व्यक्तिका लागि दैनिक आवश्यक क्याल्सियम मात्राको ३० देखि ४० प्रतिशतको हाराहारीमा हो । यसमा प्रोटिनसमेत प्रशस्त हुन्छ । एक कपमा एकजनालाई दैनिक आवश्यक पर्ने २५ देखि ३० प्रतिशत प्रोटिनको आवश्यकतासमेत पूर्ति गर्छ ।
एक कपमा २ सय ५० मिलिग्राम पोटासियमसमेत हुन्छ । जो एउटा केरामा पाइने पोटासियमको बराबर हो । यसमा कम क्यालोरी हुन्छ जसले यो पोषाक आहारको क्षेत्रमा डाइट फुडको रूपमा समेत प्रसिद्घ छ ।
बाख्रा दूधको दही सबैभन्दा राम्रो मानिन्छ । दही त्यतिकै प्रभावकारी छ जतिको मल्टिभिटामिन औषधि हुन्छ । आयुर्वेदअनुसार, दही बनाउन माटोको भाँडोको प्रयोग सबैभन्दा बढी राम्रो मानिन्छ ।

स्वास्थ्य

अलार्मको कठोर आवाजले व्याकुलता

- कान्तिपुर संवाददाता

हालै गरिएको एउटा अनुसन्धानअनुसार बिहानको अलार्मको कठोर आवाजले व्याकुलता बढाउँछ भने मीठो आवाजले सतर्कताको स्तरमा सुधार गर्न सक्छ ।
यो अध्ययन ‘प्लोसवन’ मा प्रकाशित छ । अनुसन्धानअनुसार, व्यक्तिलाई जगाउन प्रयोग गरिएको आवाजले बिहान कस्तो अनुभव हुने भन्ने कुरालाई प्रभावित गर्छ ।
यो अध्ययन बिहान उठ्न सिफ्ट कर्मचारीले उपयोग गर्ने अलार्ममा आधारित छ । अध्ययनअनुसार बिहान राम्रो मुडमा निद्राबाट नब्युँझने व्यक्ति विशेषले दिनभरको काममा राम्ररी ध्यान दिन सक्दैन ।
ब्युँझना साथ तुरुन्त खतरनाक स्थितिमा काम गर्ने अग्निनियन्त्रक, पाइलट
आदिको लागि यो धेरै महत्त्वपूर्ण छ । तर मेलोडी उत्पन्न गर्ने अलार्म सतर्कताको स्तरमा सुधार गर्छ ।

स्वास्थ्य

भियाग्राले दृष्टिदोष !

- कान्तिपुर संवाददाता

इरेक्टाइल डिस्फङ्सन (पुरुषको लिङ्ग उत्तेजनामा समस्या) लाई सुधार गर्न अर्थात् यौनआनन्द बढाउन भियाग्रा उपयोग गरिहेकाहरु दृष्टिदोषको सिकार हुन सक्ने एक अध्ययनले देखाएको छ ।
यो अनुसन्धान ‘फ्रन्टियर इन न्युरोलोजी’ मा प्रकाशित छ । अध्ययनअनुसार, भियाग्राको उपयोग गर्नेहरूले सुरुमा हलुका मात्रा नै लिनुपर्छ । यसपछि आवश्यकताअनुसार, यसलाई विस्तारै विस्तारै बढाउन सकिन्छ । भियाग्राको उच्च मात्रा प्रयोग गर्नाले मानिसका आँखा खराब हुन सक्छन् ।
भियाग्राले गर्दा आँखा खराब हुने यो समस्यापछि रंगलाई
सही पहिचान गर्न नसक्ने (कलर भिजन) समस्यासम्म हुन्छ । केही मामिलामा अन्धोपनको समेत सिकार हुन सक्छन् ।
अध्ययनअनुसार विशेषज्ञको सल्लाह नलिई सेक्स, एन्जाइटी र इरेक्टाइल डिस्फङ्सनको उपचारका लागि भियाग्रा उपयोग गर्नेहरूलाई यस्तो समस्या देखिन सक्छ ।
भियाग्राले रगतको नलीलाई फैलाउने र मांसपेसीलाई राम्रो बनाउने काम गर्छ । यो औषधिको असर शरीरमा ३ देखि ६ घण्टासम्म रहन्छ ।
अध्ययनमा पाइएअनुसार, भियाग्राको दुष्प्रभावको सिकार भएकाले धमिलो देख्नुको साथै उनीहरू रातो र हरियो रंग राम्ररी छुट्याउन सकिरहेको थिएनन् । यी सबै व्यक्ति भियाग्राको एक सय मिलिग्रामभन्दा बढी मात्राको उपयोग गरिरहेका थिए । यसले आँखामा नराम्रो असर पार्नुका साथै घण्टौंसम्म टाउको दुखाउने पनि गर्छ ।
सन् १९९८ मा पहिलोपटक भियाग्रा बजारमा उपलब्ध भएको थियो । यो इतिहासमा सबैभन्दा बढी बिक्री हुने औषधिमध्ये एक हो । उसो त यो औषधि उच्च रक्तचापका बिरामीका लागि बनाइएको थियो तर पछि यसको उपयोग यौनआनन्द बढाउनका लागि हुन थाल्यो ।

स्वास्थ्य

छाला डढ्दा चिसो पानी

- कान्तिपुर संवाददाता

हालै गरिएको एउटा अध्ययनअनुसार छाला डढ्दा २० मिनेट चिसो पानीमा हात राख्नु सबैभन्दा राम्रो उपचारमध्ये एक हो ।
यो अध्ययन जर्नल एनल्स अफ इमर्जेन्सीमा प्रकाशित छ । अध्ययनअनुसार, चिसो पानी ‘स्किन ग्राफ्ट’ अर्थात्
छाला प्रत्यारोपणको आवश्यकताको बाधालाई कम गर्न सक्छ । तीव्र गतिले घाउ निको गर्न सक्छ र हस्पिटल जानबाट राहत दिन्छ ।
यो अध्ययनअन्तर्गत अस्ट्रेलियाको एउटा अस्पतालमा डढाइको उपचारको लागि आएका दुई वर्षको औसत आयु भएका करिव २५ सय बच्चाको मूल्यांकन गरिएको थियो ।
अनुसन्धानअनुसार हात, खुट्टा डढ्दा चिसो पानीको उपयोग धेरै सहयोगी सावित भयो । यस्तो गर्नु डढाइले गर्दा उत्पन्न हुने फोकालाई मात्र रोक्दैन, पोलाइबाट समेत राहत दिन्छ ।
पोल्दा २० मिनेटसम्म धाराको पानीमा हात राख्नुले पोलाइको दुखाइबाट राहत प्रदान गर्ने अध्ययनले बताएको छ ।
अध्ययनले यतिसम्म देखाएको छ कि बच्चाको डढेको हातलाई तुरुन्त चिसो पानीमा २० मिनेटभन्दा बढी राख्दा स्किन ग्राफ्टिङ हुने सम्भावना ४० प्रतिशत कम हुन्छ ।

Page 10
समाचार

'भ्रूण हत्या' आरोपपछि गाउँपालिका अध्यक्ष फरार

- आनन्द गौतम

(फिदिम, पाँचथर) - अन्तर्जातीय विवाह गरेकी एक दलित युवतीको जबर्जस्ती गर्भपतन (भ्रूण हत्या) गराएको आरोप लागेपछि कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।
अध्यक्ष चेम्जोङमाथि १९ वर्षीया किशोरीको २१ साताको गर्भपतन गराउन दबाब दिएको आरोप छ । पीडित युवतीले अध्यक्ष चेम्जोङसहित कुम्मायक–५ स्याबरुम्बाका रमेश खड्कासहित सात जनाविरुद्ध किटानी जाहेरी दिएकी छन् । विवाह गरेकाले आफ्ना श्रीमान् भनी दाबी
गरेका खड्का पनि फरार छन् । प्रहरीका अनुसार जाहेरीका आधारमा तीन स्वास्थ्यकर्मी पक्राउ परिसकेका छन् । ‘गर्भपतन गराइएको भनिएको सदरमुकाम फिदिमको समर्पित अस्पतालका डाक्टरसहित तीन जना हिरासतमा छन् । उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्दै छौं,’ डीएसपी सिद्धराज न्यौपानेले भने । अध्यक्ष चेम्जोङलाई खोज्न गाउँपालिका कार्यालय र उनको निवाससम्म प्रहरी पठाए पनि नभेटिएको उनले बताए । ‘फोन सम्पर्क हुन सकेको छैन,’ उनले भने । पक्राउ नगर्न राजनीतिक दबाब नभएको र चेम्जोङ प्रहरीका लागि एउटा मुद्दाको प्रतिवादी भएको न्यौपानेले बताए । अध्यक्ष चेम्जोङले माघ २३ मा निर्णय गराई गाउँपालिकाको जिम्मेवारी उपाध्यक्ष सीता आचार्यलाई दिएका छन् । उपाध्यक्ष आचार्यका अनुसार अध्यक्षले घरायसी काम दर्साएर जिम्मेवारी दिएका हुन् । प्रहरीका अनुसार किशोरीको गर्भमा रहेको भ्रूण गत पुस २४ राति फालिएको थियो । किशोरीले किटानी जाहेरी भने झन्डै एक महिनापछि माघ २२ मा दिएकी थिइन् ।
मेगा बैंकको यासोक शाखामा कार्यरत खड्का र किशोरीबीच गत साउन २८ मा प्रेमविवाह भएको थियो । उनीहरूले स्थानीय शिवालय मन्दिरमा गएर विवाह गरेका थिए । त्यसपछि बसेको गर्भपतनका लागि रमेशका दाजु–दिदी, पालिका अध्यक्षले समेत दबाब दिएको जाहेरीमा उल्लेख छ । गाउँमै गर्भपतनको प्रयास भएको भन्दै गाउँका स्वास्थ्यकर्मी पनि तानिएका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनअनुसार महिलाको मञ्जुरीमा १२ सातासम्मको मात्रै गर्भपतन गर्न मिल्छ । गर्भवतीको मानसिक र शारीरिक अवस्थामा जोखिम हुन सक्ने तथा विकलांग बच्चा जन्मिने अवस्था भए इजाजतप्राप्त चिकित्सकको रायपछि २८ सातासम्मको गर्भ फाल्न सकिन्छ । उक्त घटनाबारे प्रतिनिधिसभामा सांसद मीन विश्वकर्माले बोलेका छन् । पीडित किशोरीको न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Page 11
अर्थ वाणिज्य

२३ करोड क्षतिमा ३१ लाख जरिवाना

गरिमाको नक्कली बीउ
चितवन, कैलाली, बाँके, बर्दिया, दाङ, तनहुँ, कञ्चनपुर, नवलपरासीलगायत १३ जिल्लाका ६० पालिकाका ६ हजार ९१५ घरधुरीको १७ हजार ८०६ हेक्टरमा क्षति पुगेको थियो
- राजु चौधरी

(काठमाडौं) - गरिमा जातको धानको हाइब्रिड बीउ नक्कली परेपछि सरकारले १३ जिल्लामा २३ करोड रुपैयाँ बराबरको क्षतिसहित मंसिरमा प्रतिवेदन बनायो । उत्पादन लागत र परिमाणका आधारमा बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले किसानलाई त्यति नै रकम क्षतिपूर्ति दिन भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गर्‍यो । तर किसान ठग्नेलाई अहिले ३१ लाख २० हजार रुपैयाँ मात्रै जरिवाना भएको छ ।
नक्कली बीउ बिक्री गरेर ठगी गरेको आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले १५ विक्रेता र आयातकर्ता दिवानगज चौधरीलगायतलाई उक्त परिमाणको रकम जरिवाना गरेको हो । विभागले उपभोक्ता संरक्षण ऐन–०७५ अनुसार नक्कली बीउ बिक्री गरेको आधारमा जरिवाना गरेको हो । ‘ऐनअनुसार २ देखि ३ लाख रुपैयाँ मात्रै जरिवाना गर्न सकिन्छ । त्यसैले आयातकर्ता सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालिलाई अधिकतम ३ लाख रुपैयाँबाट माथि जान सकेनौं,’ स्रोतले भन्यो, ‘खुद्रा बिक्रेताको हकमा बढीमा २ लाख रुपैयाँभन्दा माथि जान मिलेन ।’ विभागको टोली जिल्लाजिल्लामै गएर एग्रोभेटहरूलाई जरिवाना गराएको हो ।
विभागले आयातकर्ता र विक्रेतालाई जरिवाना गरे पनि किसानले क्षतिपूर्ति पाउनेमा अन्योल नै छ । केन्द्रले बनाएको प्रतिवेदनअनुसार सनराइजबाट खरिद गरिएको बीउ १६ वटै एग्रो सेन्टरले बेचेका थिए । सबैभन्दा बढी चितवनको प्रशान्त एग्रोभेट सेन्टरले १३ हजार १ सय ३७ केजी, कैलालीको किसान एग्रोभेटले २ हजार ८५ र दमौलीको तनहुँ बीज भण्डारले १ हजार ७ सय ४२ किलो बीउ बिक्री गरेको थियो । अन्य एग्रोभेट सेन्टरले न्यून मात्रामा बिक्री गरेकाले अधिकतम जरिवाना गर्न नसकिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार बर्दियामा रहेको सुलु एग्रोभेटले खरिदबिक्री बिलसमेत देखाउन सकेन । एग्रोभेट पनि सानो भएकाले सञ्चालकलाई खरिदबिक्री बिल नराखेका आधारमा २० हजार रुपैयाँ जरिवाना गरिएको छ । दाङस्थित मिलन एग्रोभेट सेन्टरका सञ्चालकले एग्रोभेट अर्को व्यक्तिलाई बिक्री गरिसकेको पाइएको छ । ती सञ्चालकले एग्रोभेट बेचेर भैंसीपालन गरेकाले विभागको सम्पर्कमा आउन नसकेकै कारण जरिवाना हुन नसकेको बताइएको छ । यीबाहेक १४ एग्रो सेन्टरलाई नक्कली बीउ बिक्री गरेका आधारमा जनही २ लाख रुपैयाँका दरले जरिवाना गरिएको छ ।
‘एक–दुई जना विक्रेता (एग्रोभेट) बाहेक अन्यले थोरै बिक्री गरेको देखियो । विक्रेताभन्दा आयातकर्ता र सरकारी निकायको दोष देखिन्छ । फ्रतिवेदनअनुसार वित्रेतालाई कारबाही भएको छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक अधिकारीले भने, ‘तर किसानको हकमा अन्योल नै छ । बीउबिजन ठगीको विषयलाई मन्त्रालयबाटै टुंग्याउनुपर्थ्यो । तर मन्त्रालय पन्छिएको छ ।’
केन्द्रका प्रमुख मदन थापाको संयोजत्कवमा गठित क्षतिपूर्ति समितिले किसानको उत्पादन लागत खर्चका आधारमा १७ करोड र परिमाणका आधारमा २३ करोड रुपैयाँ क्षति सिफारिस गरेको थियो । केन्द्रका अनुसार सबैभन्दा बढी चितवन, कैलाली, बाँके, बर्दिया, दाङ, तनहुँ, कञ्चनपुर, नवलपरासीलगायत १३ जिल्लाका ६० पालिकामा क्षति पुगेको छ । ती पालिकाका ६ हजार ९ सय १५ घरधुरीको १७ हजार ८ सय ६ हेक्टरमा क्षति पुगेको प्रतिवेदनमा छ ।
गरिमा बीउ भारतको रेनोभा सिड साइन्स इन्डिया प्रालिले उत्पादन गरेको केन्द्रले जनाएको छ । नेपालतर्फको प्रस्तावक नेपालगन्जस्थित बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालि हो । आयातकर्ता भने दाङस्थित सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालि हो । प्रतिवेदनअनुसार ०७६ वैशाखमा गरिमाको ३४.८ टन बीउ आयात गरिएको थियो ।
आयातकर्ता सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालिले आयातित परिमाणमध्ये २३ हजार ४ सय २८ किलो बेचेको थियो । वितरित बीउ ढिला पसाएपछि नक्कली परेको आकलन गरिएको थियो । त्यसपछि कृषि अनुसन्धान परिषद् (नार्क) ले धानको डीएनए परीक्षण गरेको थियो । नार्कले तयार पारेको प्रातिवेदनले पनि गरिमा हाइब्रिड बीउको वंशाणुगत गुण किसानलाई वितरण गरिएको बीउको डीएनए परीक्षणमा फेला नपरेको बताएको छ ।
नार्कले नक्कली भएको पुष्टि गरे पनि कारबाहीमा आलटाल भएको थियो । नार्कले गत असोजमै नक्कली पुष्टि गरे पनि पाँच महिना बित्दासमेत आयातकर्तालाई कारबाही हुन सकेन । किसानले पनि क्षतिपूर्ति पाएनन् । कृषि मन्त्रालय आफू पन्छिँदै उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही अघि बढाउन
पुस २० मा विभागमा फाइल
पठाएको थियो ।
विभागले पनि करिब डेढ महिना अनुसन्धान गरेर आयातकर्ता र विक्रेतालाई कारबाही गरेको हो । ‘पहिलो तह आयातकर्ता र विक्रेतालाई जरिवाना गरियो । कारबाहीपछि क्षतिपूर्तिका सन्दर्भमा विभागले पुनः निर्णर्य गर्छ,’ मन्त्रालयका ती अधिकारीले भने, ‘किसानलाई क्षतिपूर्ति दिलाउने हकमा
फाइल पुनः कृषिमा पठाउन सक्छ ।’
क्षतिपूर्ति समितिले किसानलाई राहत उपलब्ध गराउन मन्त्रालयमा दुई पटक सिफारिस गरेको थियो । किसानलाई दिने राहतका विषयमा मन्त्रालयमा छलफल भइरहेको समितिका संयोजक मदन थापाले बताए । किसानलाई राहत दिने सन्दर्भमा गृहकार्य भइरहेको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले दाबी गरे । ‘अर्को सातासम्म केही निर्णय हुन्छ,’ उनले भने ।

अर्थ वाणिज्य

विकासे मन्त्रालयले गरेनन् खर्च

- विमल खतिवडा

(काठमाडौं) - सबैभन्दा कम खर्च विकासे मन्त्रालयले गरेको पाइएको छ । अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको बजेट अर्धवार्षिक समीक्षाअनुसार करिब एक दर्जन मन्त्रालयको खर्च प्रगति कम देखिएको छ । त्यसमा पनि आधा दर्जन मन्त्रालयको खर्च प्रगति १५ प्रतिशतभन्दा कम छ । चालु आवको छ महिनामा सबैभन्दा कम खर्च गर्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय छ ।
चालु आवको छ महिनामा उक्त मन्त्रालयले २ अर्ब ३१ करोड ४६ लाखमध्ये २१ करोड ६८ लाख खर्च गरेको छ । यो मन्त्रालयलाई
छुट्याइएको बजेटको ९ दशमलव ४ प्रतिशत हो । त्यस्तै कम खर्च गर्ने दोस्रो मन्त्रालयमा कृषि तथा पशुपन्छी छ । यसले छुट्याइएको २ अर्ब ८७ करोड ६८ लाखमध्ये २८ करोड ६१ लाख रुपैयाँ खर्चिएको छ । यो पनि बजेटको ९ दशमलव ९ प्रतिशत हो । खानेपानी मन्त्रालयले कुल बजेटको अहिलेसम्म १० दशमलव ४ प्रतिशत खर्च गरेको छ ।
समीक्षाअनुसार मन्त्रालयलाई २२ अर्ब ६० करोड ४१ लाख रुपैयाँ
छुट्याइएकामा २ अर्ब ३५ करोड ९१ लाख खर्च भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अहिलेसम्म १४ दशमलव २ प्रतिशत खर्च गरेको छ । उक्त मन्त्रालयले ४० अर्ब २५ करोड ६१ लाखमध्ये ५ अर्ब ७३ करोड ५१ लाख खर्चिएको छ । विकासे मन्त्रालयमा सबैभन्दा बढी खर्च भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ । यो मन्त्रालयले कुल १ खर्ब ४४ अर्ब ८८ करोड ८७ लाखमध्ये २४ अर्ब ८८ करोड ६० लाख खर्च गरेको छ । यो बजेटको १७ दशमलव २ खर्च हो । सहरी विकास मन्त्रालयले अहिलेसम्म कुल बजेटको २४ दशमलव ९, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ दशमलव ५ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६ दशमलव ५ प्रतिशत खर्च गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ११ दशमलव ८ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १२ दशमलव ७ प्रतिशत गरेको छ ।
विगतमा देखिएका सबै समस्या विद्यमान रहेको पूर्वभौतिक सचिव तुलसी सिटौलाले बताए । ‘बजेट आयो, समयमै पास पनि भयो, बन्द हडताल खासै भएन,’ उनले भने, ‘अपेक्षाअनुसार पुँजीगत खर्च बढ्छ भन्ने थियो तर त्यसो भइदिएन ।’ निर्माण व्यवसायीको चाहनाअनुसार नै एक वर्षमा खरिद नियमावली चार पटक संशोधन भएको उनले बताए ।

‘काम गर्नेभन्दा बढी ऐननियमलाई कसरी आफ्नो अनुकूल बनाउने र के गर्दा अनुकूल हुन्छ भन्दै व्यवसायीले नियमावली परीक्षण गरिरहे,’ उनले भने, ‘तर निर्माणका काम अघि बढाउन अझै तयार भएनन् ।’
अन्तर मन्त्रालय समन्वयमा समेत समस्या हुँदा विकासे कामले गति लिन नसकेको उनको बुझाइ छ । ‘अर्को समस्या प्रदेश र केन्द्रबीचको तानातानी पनि हो,’ उनले भने, ‘कुन सडक कसले हेर्ने भन्ने समस्या छ, विगतमा ठेक्का लागेका धेरै सडकमा बजेट भएन भनेर प्रदेशले हेर्न मानेको छैन, केन्द्रले प्रदेश आफैंले बजेट व्यवस्थापन गर्नुपर्छ भन्दै आएको छ ।’
प्रदेश र केन्द्रबीच समन्वय नहुँदा विकास निर्माणका काममा ढिलाइ भइरहेको उनले बताए । ‘पुँजीगत खर्च हुन नसक्नु भनेको बजारमा मुद्रा आपूर्ति कम हुनु हो,’ उनले भने, ‘यसले गर्दा ब्याजदर महँगो हुने, महँगी बढ्ने र लक्षित प्रतिफल समयमै नपाउँदा प्राप्त हुने सम्भावना कम हुँदै जान्छ ।’ स्थिर सरकार भएको समयमा मुलुकको विकास खर्च बढ्नुपर्नेमा त्यो पनि हुन नसकेको पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की टिप्पणी गर्छन् ।

 

Page 12
अर्थ वाणिज्य

सुरु भयो क्यान इन्फोटेक

सूचना प्रविधि विधेयकले सुशासन ल्याउँछ ः मन्त्री बाँस्कोटा
- कान्तिपुर संवाददाता
भृकुटीमण्डपमा शुक्रबार सुरु भएको क्यान इन्फोटेकमा ॅअल इन वन पीसी’ चलाउँदै अवलोकनकर्ता । तस्बिर ः प्रकाशचन्द्र तिमिल्सिना/कान्तिपुर

(काठमाडौं) - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले यस क्षेत्रमा सुशासन ल्याउने बताएका छन् । विधेयकले सामाजिक सञ्जालदेखि सूचना प्रविधि व्यवसायको व्यवस्थापन गर्ने उद्देश्य राखेकाले यसले मुलुकलाई ‘डिजिटल इकोनमी’ बनाउन सघाउने उनको भनाइ छ ।
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको २६औं क्यान इन्फोटेक उद्घाटनका अवसरमा बाँस्कोटाले सूचना प्रविधि क्षेत्रमा सुशासन देख्न नचाहनेले विधेयकको विरोध गरेको आरोप लगाए ।
‘सूचना प्रविधि क्षेत्रको विकास चाहने निजी क्षेत्रले नै यसको विरोध गरेको भेटियो,’ मन्त्री बाँस्कोटाले भने । सूचना प्रविधि विधेयक विद्युतीय कारोबार ऐनभन्दा पनि खुकुलो भएको उनको दाबी छ । डिजिटल सुशासन हुन नदिनेले यसको विरोधमा लागिपरेको उनको भनाइ छ । विधेयकले डिजिटल सुशासनको प्रबन्ध गर्ने उनले बताए ।
‘अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने र डिजिटल सुशासन हुन नदिने खेल भइरहेको छ,’ उनले भने, ‘अरूले नबुझे पनि क्यानले यो विधेयकलाई बुझ्नुपर्छ ।’ यद्यपि सूचना प्रविधि विधेयकमा राखिएको दण्ड तथा सजायको प्रावधानलाई घटाइने उनले प्रतिबद्धता जनाए ।
सरकारले अघिल्लो वर्ष संसद्मा दर्ता गरेको सूचना प्रविधि विधेयक राष्ट्रिय सभा र संसद्को विकास तथा प्रविधि समितिबाट बहुमतले पास भएको छ । विधेयक अहिले संसद्मा विचाराधीन छ । विधेयकमा रहेका कतिपय प्रावधानप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारकर्मी र नागरिक समाजले विरोध गर्दै आएका छन् ।
कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले महासंघले विगतदेखि सरोकारवालासँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि हातेमालो गर्न तयार रहेको बताए ।
सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन महासंघ तयार रहेको उनको भनाइ छ । नेपालमा सूचना प्रविधि क्षेत्रको विकास भइरहेको र यसलाई तल्लो स्तरसम्मै पुर्‍याउन सूचना प्रविधि शिक्षालाई विद्यालय तहदेखि नै लागू गर्न आवश्यक रहेको
उनले बताए । यो वर्षको क्यान इन्फोटेकमा आविष्कार र नवीनतम सोच भएका व्यवसायलाई प्राथमिकता दिएको उनको धारणा थियो ।
इन्फोटेकमा मोबाइल र ब्रोडब्यान्डलाई छुट्टै पेभेलियनमा राखिएको छ । प्रदर्शनीमा प्रविधि कम्पनीका उत्पादनसहित ब्रान्डलाई समेट्ने गरी व्यवस्थापन गरिएको महासंघका महासचिव नारायण थापाले बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन सरकारले राखेका १० उद्देश्यमध्ये कनेक्टिभिटी एक भएको र सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक सहयोग सरकारले गर्ने योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको भनाइ छ ।
डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन गरी विभिन्न कार्यक्रम अगाडि बढाइएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । बुधबारसम्म चल्ने इन्फोटेकमा १७४ वटा स्टल छन् ।

अर्थ वाणिज्य

कामदार नफर्केपछि ङादी निर्माण ठप्प

- आश गुरुङ

(लमजुङ) - उत्तरी लमजुङको ङादीखोलामा निर्माणाधीन ३० मेगावाटको ङादी जलविद्युत् आयोजना निर्माण एक महिनादेखि ठप्प छ । नयाँ वर्ष मनाउन घर गएका चिनियाँ प्राविधिक नफर्किंदा आयोजनाको काम रोकिएको हो । नोवल कोरोना भाइरसको महामारीका कारण चीन सरकारले आफ्ना नागरिकलाई बाहिरी देश जान प्रतिबन्ध लगाएको छ ।
चिनियाँले जनवरी पूरै महिना नयाँ वर्षका रूपमा मनाउँछन् । जनवरी ४/५ तारिखमा गएका उनीहरू फेब्रुअरी ४/५ सम्म फर्किन नसकेपछि आयोजना निर्माण ‘बन्द’ जस्तै छ । चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले आयोजनाको निर्माण गर्दै छ ।
चिनियाँ सुपरभिजन र अगुवाइमा निर्माण भइरहेकाले नयाँ वर्षका अवसरमा नेपाली कामदारलाई पनि बिदा दिइएको थियो । नेपाली कामदारले मात्र केही गर्न नसकेको आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाले बताए ।
आयोजना निर्माणमा चिनियाँ मात्रै ६१ जना छन् । निर्माण कम्पनीका मुख्य व्यक्ति, सुपरभाइजर, इन्जिनियरसहित प्राविधिक पक्षका व्यक्ति चीनमा छन् । त्यति बेला चार जना चिनियाँ गएका थिएनन् । अहिले दुई जना मात्रै फर्केका छन् । ५५ जना चीनमै छन् । उनीहरूको अवस्था एवं आगमनबारे जानकारी लिन मंगलबार इमेल पठाइएको गड्तौलाले बताए । ‘उनीहरूका लागि काठमाडौंमा गाडी तयार छ । फोन गरौं, भाषा बुझिँदैन । त्यसैले इमेल लेखेका हौं,’ उनले भने ।
निर्माण कम्पनीकै मान्छे नभएपछि आयोजना निर्माण अघि बढ्न नसकेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । ‘उनीहरूका एक–दुई जनाले मात्रै केही गर्न सक्ने होइन । सुपरभाइजर, इन्जिनियरजस्ता मुख्य व्यक्ति नै नभएपछि उनीहरूकै आधा मान्छे भए पनि केही गर्न सकिँदैन,’ उनले भने ।
पछिल्लो योजनाअनुसार आगामी वैशाख ६ मा विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । ८० देखि ८५ प्रतिशत निर्माण सकिएको आयोजनामा हेडवर्क्सको काम भने केही बढी बाँकी रहेको गड्तौलाले बताए । हेडवर्क्समा ६० देखि ७०, सुरुङ निर्माण ९० र पावरहाउस निर्माण ८५ प्रतिशत सकिएको छ । बाँकी १५ प्रतिशत इलेक्ट्रो मेकानिकलको रहेको र सामग्री आउने क्रममा रहेको उनले बताए ।
आयोजनामा बुटवल पावर कम्पनी (बीपीसी) को ९७ दशमलव २२ र लमजुङ विद्युत् विकास कम्पनीको २ दशमलव ७८ प्रतिशत लगानी छ । ४ अर्ब ३८ करोड रुपैयाँमा सक्ने गरी डिजाइन गरिएको आयोजना निर्माण सक्ने मितिसम्म ब्याजसहित ६ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको
छ । आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नबिल, ग्लोबल आईएमई, हिमालयन, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानी छ ।

अर्थ वाणिज्य

अर्बौंका योजनामा ठेक्काकै टुंगो छैन

- कान्तिपुर संवाददाता

धनगढी (कास)– कालोसूचीमा परेको रमण–पप्पु जेभीबीच कुरा नमिल्दा क्षेत्रीय सहरी विकास कार्यक्रमले सुदूरपश्चिममा अर्बौं रुपैयाँ लागतका सडक योजनाको ठेक्का टुंग्याउन सकेको छैन ।
सार्वजनिक खरिद अनुगमन कार्यालय र क्षेत्रीय सहरी विकास कार्यक्रमको ऋणदाता एसियाली विकास बैंक (एडीबी) बीच रमण–पप्पु जेभीलाई ठेक्का दिने/नदिने विषयमा मत बाझिएको छ । यही कारण शुक्लाफाँटा, गोदावरी र धनगढीको सडक स्तरोन्नतिको ठेक्का स्वीकृतिमा गएको प्रक्रिया पनि अड्किएको छ । ‘अनुगमन कार्यालय रमण–पप्पु जेभी कालोसूचीमा परेकाले ठेक्का दिनु हुन्न भन्ने पक्षमा छ,’ संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर एवं सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीले भने, ‘एडीबीले रमण–
पप्पु कालोसूचीको स्पष्ट आधार खोजिरहेको छ ।’
आयोजनाले गएको जेठमा धनगढीमा १ अर्ब १० करोडमा १० किमि, गोदावरीमा १६ किमिलाई ९० करोड, शुक्लाफाँटामा साढे ४ किमिलाई ३४ करोड र भीमदत्त नगरपालिकाको १५ किमि सडक विस्तार गर्न १ अर्ब २४ करोडको टेन्डर गरेको थियो । ‘प्राविधिक टेन्डरको मूल्यांकनमा रमण–पप्पुसहित आठ वटा ठेकेदार कम्पनी उत्तीर्ण भएका थिए,’ बुढाथोकीले भने, ‘ठेक्का स्वीकृत गर्ने बेला ऋणदाता संस्था एडीबी र सार्वजनिक अनुगमन कार्यालयबीच मत बाझिएको हो ।’
त्यति बेला रमण–पप्पु जेभी कालोसूचीमा सिफारिस भए पनि एडीबीले ठेक्का दिन सकिने राय दिएको उनले बताए । सार्वजनिक खरिद अनुगमन कार्यालयले गत पुसमा रमण–पप्पुलाई कालोसूचीमा राखेको हो । उक्त कम्पनी कालोसूचीमा परिसकेको अवस्थामा एडीबीले कुनै पनि स्पष्टीकरणको मौकासमेत नदिएर कालोसूचीमा पार्नुको स्पष्ट आधार मागिरहेको बताए । अनुगमन कार्यालयले एक वर्षका लागि कुनै पनि ठेक्का नपाउने गरी कालोसूचीमा राखेको छ ।
वर्षौंदेखि काम नगरेको भन्दै हुलाकी सडक आयोजनाको सिफारिसमा रमण–पप्पु जेभीलाई कालोसूचीमा राखिएको हो । बुढाथोकीले ठेक्का प्रक्रिया ढिलाइले समयमै योजना सम्पन्न नहुने बताए । एडीबीले सुदूरपश्चिमका प्रमुख चार सहर भीमदत्त, शुक्लाफाँटा, गोदावरी र धनगढीको सडक स्तरोन्नति, डम्पिङ साइट, दिसाजन्य पदार्थ व्यवस्थापन र नगरपालिकाको सुविधायुक्त भवन निर्माण गर्न ७ अर्ब ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यक्रम लगानी गरेको हो । हाल उक्त कार्यक्रम संघीय आयोजना कार्यक्रम इकाईअन्तर्गत कार्यान्वयनमा छ । सबै कार्यक्रम पाँच वर्षभित्र (सन् २०१७ देखि २०२२) मा सम्पन्न गर्ने गरी सम्झौता भएको इन्जिनियर बुढाथोकीले बताए ।
आयोजनाअन्तर्गतको एकीकृत फोहोर व्यवस्थापन केन्द्र निर्माण प्रक्रिया धनगढी र भीमदत्त नगरपालिकामा अघि बढेको छैन । जग्गा खोज्दैमा तीन वर्ष बितेको छ । धनगढी उपमहानगरले सुरुमा वडा नम्बर २ मा जग्गा पहिचान गरेको थियो । स्थानीयको विरोधका कारण नयाँ ठाउँ खोज्नुपर्ने अवस्था रहेको नगर प्रमुख नृपबहादुर वडले बताए । उक्त ठाउँमा आयोजनाले डीपीआरसमेत तयार गरेर जग्गा अधिग्रहण गर्न रकमसमेत निकासा गरेको थियो । सरकारी जग्गा मन्त्रिपरिषद्बाट निर्णय भएर उपलब्ध भएपछि मात्रै फोहोर व्यवस्थापन गरिने बूढाथोकीले बताए ।

अर्थ वाणिज्य

एबीसी पुग्न थाले पदयात्री

- दीपक परियार
अन्नपूर्ण आधार शिविर पुगेर फर्कंदै गरेका पर्यटक । तस्बिर ः कान्तिपुर

(पोखरा) - एक महिनाअघि गएको हिमपहिरोका कारण बन्द अन्नपूर्ण सेन्चुरी पदमार्ग पुनः सञ्चालनमा आएको छ । यससँगै अन्नपूर्ण आधार शिविर (एबीसी) सम्म पर्यटक पुग्न थालेका छन् ।
एबीसी पुग्ने पदमार्गमा पर्ने सबै होटल खुलिसकेका छन् । बाक्लो हिमापातपछि माघ ३ मा हिंकु केभ र देउरालीको बीचमा हिमपहिरो आएपछि होटल बन्द गरेर पोखरा आएका कामदार पुनः होटल फर्किएका छन् । पदमार्ग सुरक्षित रहेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । मौसम सफा भएको र हिउँ घटिरहेकाले पदमार्ग सुरक्षित रहेको समितिका अध्यक्ष बुद्धिमान गुरुङले बताए । होटल सञ्चालक र कामदार फर्किसकेकाले पर्यटकलाई कुनै असुविधा नहुने उनले जनाए । ‘हिमपहिरो आएको ठाउँमा हिँड्न मिल्ने गरी बाटो बनाएका छौं,’ उनले भने, ‘अन्यत्र कुनै खतरा छैन ।’ अप्ठ्यारो स्थानमा समितिकै अग्रसरतामा हिउँ पन्छाएर बाटो खुलाउने काम भएको उनको भनाइ छ ।
आन्तरिक र बाह्य पर्यटकको आवागमन सुरु भइसकेकाले पर्यटक बढ्ने उपाध्यक्ष जगनरास गुरुङको आशा छ । हिउँमा रमाउँदै पदयात्रा गर्न चाहने पर्यटकलाई अहिले उपयुक्त मौसम भएको उनको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का छोम्रोङ चेकपोस्ट इन्चार्ज नेत्र शर्माका अनुसार तीन दिनयता १७ पर्यटक एबीसी पुगेका छन् । मंगलबार दुई विदेशी पर्यटक र चार सहयोगी एबीसी पुगेर फर्किएका छन् । विदेशी पर्यटकसहित ११ जनाको अर्को टोली छोम्रोङबाट एबीसीतर्फ गइसकेको छ ।
एक्याप र पर्यटन बोर्डले अनुमति नरोकेकाले पर्यटक एबीसी पुग्न सक्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष हरि भुजेल बताए । पदमार्गको झिँनु, घुर्सुङ, किम्रोङखोला, छोम्रोङ, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छ्रे बेस क्याम्प (एमबीसी) र एबीसीमा गरी ६० होटल छन् । भ्रमण वर्ष सन् २०२० को तयारीस्वरूप होटल थपिने क्रममा छन् ।

अनुभवी गाइडको अभाव
माघ ३ मा बाक्लो हिमपात भयो । देउरालीका होटलमा बास बसेका पर्यटक एबीसी जान नसक्ने भएपछि फर्किने तरखर गरे । स्थानीय होटल सञ्चालकले मौसम सुध्रिएपछि मात्रै फर्किन आग्रह गरे पनि केही टोली अटेर गरी फर्किए । गाइड (पथप्रदर्शक) मा समेत मौसमसम्बन्धी ज्ञान कम हुँदा दुर्घटना हुने गरेको समितिका सचिव दिलीप गुरुङको भनाइ छ । पदमार्गमा पर्ने माछापुच्छ्रे बेस क्याम्प (एमबीसी) मा होटल सञ्चालन गर्ने उनले गाइडलाई मौसमसम्बन्धी उचित तालिम आवश्यक रहेको बताए । ‘पहिलेपहिले अनुभवी गाइड हुन्थे,’ उनले भने, ‘अहिले भाषाको राम्रो ज्ञान भएका गाइड छन् । तर उनीहरूमा भूगोल र मौसमसम्बन्धी चेतना कम छ ।’ हिमपातमा कसरी हिँड्ने, कसरी जोगिने भन्ने ज्ञान अत्यावश्यक हुने उनको भनाइ छ ।
१६ घण्टासम्मको मौसम पूर्वानुमान हेर्ने र हिमपातका बेला स्थानीयसँग समन्वय गरेर पदयात्रा गर्नुपर्ने समितिका अध्यक्ष बुद्धिमान गुरुङ सुझाउँछन् । ‘ट्रेकिङ कम्पनीले पनि हिउँ पर्ने बेला र नपर्ने बेलाको आइटिनरी फरकफरक बताउनुपर्छ,’ उनी भन्छन्, ‘अरू बेला सात दिन लाग्ने पदयात्रा हिउँ पर्ने बेला १० दिनको बनाउनुपर्छ ।’

हिमपहिरोमा हराएका अझै भेटिएनन
हिमपहिरोमा बेपत्ता भएका चार कोरियाली र तीन नेपाली अझै भेटिएका छैनन् । पहिरो आएको स्थानमा अत्यधिक हिउँ जमेकाले खोजतलास गर्न अप्ठ्यारो भएको हो । काठमाडौंबाट आएको उद्धार टोलीले समेत बेपत्ताको अवस्था पत्ता लगाउन नसकेको टान पश्चिमाञ्चल अध्यक्ष भुजेलले बताए । डिटेक्टर मेसिन ल्याएर हिउँमा पाँच मिटर खाल्डो खनी पाँच मिटर लामो डिटेक्टर रड गाड्दासमेत जमिनको सतह फेला पर्न नसकेको उनको भनाइ छ । अझै १२–१३ मिटरभन्दा गहिरो हिउँ जमेको हुन सक्ने उनको अनुमान छ । हिउँ नपग्लिएसम्म कुनै पत्तो नलाग्ने भएपछि काठमाडौंबाट आएको टोली फिर्ता गइसकेको उनले बताए ।
हिमपहिरोमा हराएका चार कोरियाली नागरिकका परिवार आए पनि भेटिने सम्भावना नदेखेपछि स्वदेश फर्किसकेका छन् ।

अर्थ वाणिज्य

‘नाफा लैजान नपाए विदेशी लगानी आउन्न’

- कान्तिपुर संवाददाता

धादिङ (कास)– नेकपा अध्यक्ष पुष्पकमल दाहालले नाफा लैजान नपाए विदेशी लगानी नआउने बताएका छन् । पहिले स्वागत गर्ने र लगानीको प्रतिफल लैजाने बेला तर्साउने परिपाटी राम्रो नभएको उनको भनाइ छ । धादिङ उद्योग वाणिज्य संघले सदरमुकामको खुलामञ्चमा आयोजना गरेको सातौं धादिङ उद्योग तथा पर्यटन महोत्सव उद्घाटनका अवसरमा शुक्रबार अध्यक्ष दाहालले आगामी १० वर्षभित्र नेपाल विकासमा नमुना बन्ने दाबी गरे ।
प्रस्तावित बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण अन्तिम चरणमा रहेको र अब डुबानबाट पीडित परिवारलाई पुनर्वास तथा पुनःस्थापना प्रक्रिया अगाडि बढाई आयोजना निर्माण हुनेमा ढुक्क हुन उनको आग्रह छ । केरुङबाट गल्छी हुँदै भारतको ठोरीसम्मको त्रिदेशीय मार्ग सम्पन्न हुने चरणमा पुगिसकेको र तिब्बतबाट काठमाडौं, धादिङ, पोखरा हुँदै लुम्बीनी रेल लैजाने रणनीति अघि बढिसकेको उनको भनाइ छ ।

अर्थ वाणिज्य

भन्सार छलीका कपडा नियन्त्रणमा

- कान्तिपुर संवाददाता


बिर्तामोड (कास)– भारतबाट भन्सार छली ल्याइएका करिब ६० लाख रुपैयाँ बराबरका कपडासहित बोलेरो पिकअप भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ । भारतसँग सीमा जोडिएको इलामका विभिन्न नाकाबाट भन्सार छलेर ल्याइएका कपडा गाडीमा लोड गरी झापातर्फ ल्याइँदै थियो । बिहीबार बिहान पौने ९ बजे मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची राजमार्गबाट उक्त भ्यान नियन्त्रणमा लिइएको हो । प्रहरीले भ्यान चालक विकास राजवंशीलाई समेत नियन्त्रणमा लिएको छ ।
विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाटै खटिएको प्रहरी टोलीले कपडासहितको भ्यान नियन्त्रणमा लिएको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

अर्थ वाणिज्य

माछापुच्छ्रे–युनिटेक ऋण सम्झौता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– युनिटेक हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत् आयोजनाका लागि बिहीबार ऋण सम्झौता भएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड र आईसीएफसी फाइनान्सले क्रमशः ४०, २० र २० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । आयोजना ताप्लेजुङको सिरिजंगा र पाथीभरा याङवरक गाउँपालिकामा पर्दछ ।

अर्थ वाणिज्य

सीसीटीभी जडान गर्न सिटिजन्सको सहयोग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरामा सीसीटीभी जडान गर्न उपभोक्ता समितिलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा शुक्रबार आयोजित एक समारोहबीच उक्त रकम हस्तान्तरण गरियो । 

Page 13
समाचार

विदेशी फर्काएपछिॅ 'इज्तिमा' गर्न अनुमति

- अवधेशकुमार झा
सप्तरीको बोदेवरसाइन–५ जाजरमा शनिबार सुरु हुने इस्लामिक सम्मेलनमा आएका सहभागी ।तस्बिर ः अवधेशकुमार/कान्तिपुर

(बोदेवरसाइन, सप्तरी) - तेस्रो मुलुकका प्रतिनिधिलाई सहभागी नगराउने आयोजकको प्रतिबद्धतापछि सरकारले सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा मुस्लिम समुदायको धार्मिक सम्मेलन ‘इज्तिमा’ गर्न अनुमति दिएको छ । शनिबार सुरु हुन लागेको तीनदिने सम्मेलनमा सुरुमा नेपाल र भारतका मुस्लिमको मात्र सहभागिता हुने भनेर अनुमति लिइएकामा तेस्रो मुलुकका सहभागी पनि आएपछि विवाद भएको थियो । अन्य मुलुकका सहभागी आउन थालेपछि गृह मन्त्रालयले बिहीबार सम्मेलन रोक्न निर्देशन दिएको थियो ।
आयोजकले गल्ती गरेको राष्ट्रिय मुस्लिम आयोगले ठहर गरेको छ । आयोगको समन्वयमा आयोजकले विदेशी नागरिकलाई फर्काउन तयार भएपछि शनिबारदेखि उक्त सम्मेलन हुने निश्चित भएको हो ।
सम्मेलनबारे अन्योल भएपछि आयोगका अध्यक्ष समिम अन्सारीले शुक्रबार साँझ जाजर पुगेका थिए । बोदेवरसाइनस्थित इलाका प्रहरी कार्यालयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालसहित सुरक्षा निकाय प्रमुखहरूसँगको छलफलपछि सञ्चारकर्मीसित कुरा गर्दै अध्यक्ष अन्सारीले इज्तिमा आयोजक समितिले राष्ट्रिय सम्मेलन गर्ने भनेर अन्तर्राष्ट्रिय सहभागिता गराएर गल्ती गरेको आरोप लगाए । ‘यो सम्मेलन अन्तर्राष्ट्रिय थिएन । आयोजकहरूले राष्ट्रिय रूपमा मात्र सम्मेलन गर्छौं भनेपछि अनुमति दिइएको छ,’ उनले भने, ‘आयोजकले पहिले लिएको अनुमतिभन्दा गलत तरिकाबाट विभिन्न देशबाट सहभागी गराउन थालेपछि सरकार रोक्न बाध्य भएको थियो ।’ कसैले पनि यस्ता कार्यक्रम आयोजना गर्दा देशको नियम–कानुनको दायरामा रहेर गर्नुपर्ने उनले बताए । ‘सुरुमा आयोजकले इन्डियाबाट धर्मगुरु मौलाना साहबहरू र केही सहभागी आउने र नेपालका विभिन्न भागबाट सहभागी आउने बताएका थिए, तर पछि त्यसको विपरीत गयो,’ अध्यक्ष अन्सारीले भने, ‘अहिले पाकिस्तान, बंगलादेश, कतार, दुबई, साउदी र थाइल्यान्डलगायत मुलुकबाट करिब दुई सय हाराहारीमा सहभागी आएपछि सरकारले सम्मेलन रोक लगाउने निर्णय गरेको हो ।’ सम्मेलनमा आएका विदेशीलाई सम्झाएर फर्काइएको उनले बताए । भारतबाहेक अरू मुलुकका सहभागीलाई फर्काएकाले पूर्वनिर्धारित तालिकाअनुसार सम्मेलन हुने जानकारी उनले दिए । इज्तिमा आयोजक समितिका संयोजक मोहम्मद गफुरले भने आफूहरूले विदेशीलाई नबोलाए पनि आफैं आएको बताएका छन् । ‘हामी बोलाएर विदेशीलाई आएका होइनन् । उनीहरू आफैं आएका हुन्,’ उनले भने, ‘अहिले फर्काउने सहमति भइसकेको छ ।’
अनुमति लिएकोभन्दा फरक प्रकारले सहभागी आउन थालेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी खनालसहित सुरक्षा अधिकारीहरूको टोली शुक्रबार दिनभर सम्मेलन आयोजना स्थलमै विदेशी प्रतिनिधिलाई फर्काउन आयोजकलाई आग्रह गर्दै बसेका थिए । जिल्लाका अधिकांश सशस्त्र र नेपाल प्रहरीको सुरक्षा दस्ता त्यहीँ परिचालित गरिएको छ ।
छिमेकी जिल्ला र दंगा नियन्त्रण गणबाट पनि थप बल ल्याइएपछि ठूलो संख्यामा भेला हुँदा अहिले यहाँ सुरक्षाकर्मीलाई खान र बस्न समस्या भएको छ । खेतमा पाल टाँगेर प्रहरीलाई राखिएको छ । उता सम्मेलनमा शुक्रबार साँझसम्म ४० हजार जनाभन्दा बढी सहभागी आइसकेका छन् । आयोजकले आफ्नै ट्राफिक व्यवस्थापकहरू परिचालन गरेका छन् । सम्मेलनमा दुई लाख बढी सहभागी हुने अनुमान गरिएको छ । सम्मेलनस्थलमा तस्बिर लिन रोक लगाइएको छ ।
राजविराजका होटलमा पनि विदेशी
भारतबाहेक देशका नागरिकलाई सम्मेलनस्थलबाट फर्काउन थालिए पनि शुक्रबार मात्र जहाज चढेर सातजना पाकिस्तानी राजविराज आएको सुरक्षा स्रोतले जानकारी दिएको छ । राजविराजस्थित एक होटलमा बसेका उनीहरूलाई त्यहीँबाट फर्काउने सुरक्षा अधिकारीहरूले बताए । अन्य विभिन्न बाटो प्रयोग गरी सम्मेलनमा आएका विदेशी नागरिक सबैलाई फर्काउने प्रहरी उपरीक्षक कृष्ण प्रसार्इंले बताए ।
नेपाल–भारत सीमा नजिकको बोदेवरसाइन–५ जाजरमा हुने इस्लामिक सम्मेलनबारे भारतीय सुरक्षा अधिकारीहरूले चासो लिएका छन् । शुक्रबार दिउँसो सीमावर्ती लौकही थानाका प्रमुख अरविन्दकुमार इलाका प्रहरी कार्यालय बोदेवरसाइनमा आएर सप्तरीका डीएसपी तिलक भारतीसहितका सुरक्षा अधिकारीलाई भेटे ।
थाना प्रमुख अरविन्दकुमारले सम्मेलनमा आएका पाकिस्तानी नागरिकको ‘घुसपैठ’ भारततर्फ हुन सक्ने भएकाले आफूहरूले चासो बढाएको बताए । ‘हामीले सीमामा सशस्त्र सुरक्षा बलको संख्यासमेत थप गरेका छौं, निगरानी र चेकजाँचलाई पनि बढाएका छौं,’ उनले भने ।

समाचार

पालिकामा जान मानेनन् सहसचिव

- राजेश मिश्र

(काठमाडौं) - दाङको तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले एक दिनअगाडि मात्रै प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर नयाँ आउनेको स्वागत र जान लागेकाको बिदाइ गरे । स्वागत र बिदाइ समारोहको २४ घण्टा बित्न नपाउँदै त्यहाँका प्रशासकीय अधिकृत फेरि परिवर्तन भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १७ गते तुलसीपुरका प्रशासकीय अधिकृत आनन्द सारुलाई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेर त्यहाँ भर्खरै सहसचिवमा बढुवा भएका कृष्णकान्त उपाध्यायलाई पठाएको थियो । बिहीबार उपाध्याय हाजिर र सारु बिदाइ भएका थिए । उता, स्वागत र बिदाइ समारोह चलिरहँदा यता मन्त्रालयमा दुवै जनाको फेरि अर्को सरुवा गर्ने निर्णय हुँदै थियो । रमाना भइसकेका सारुलाई फेरि तुलसीपुरमै राखियो र नयाँ हाजिर भएका उपाध्यायलाई ५ नम्बर प्रदेश प्रमुखको कार्यालय पठाइएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले एकै दिनमा भएका सरुवाप्रति आश्चर्य व्यक्त गरे । ‘हामीलाई कुनै जानकारी नदिईकनै आर्थिक वर्षको बीचमा पटक पटक प्रशासकीय प्रमुख सार्ने काम राम्रो हुँदै होइन, यसले स्थायित्व हुँदैन,’ उनले भने, ‘हामीलाई अप्ठ्यारो पार्ने गरी काम भएका छन् । यस्ता सरुवाले विकास निर्माणलगायत काममा बाधा गर्छ ।’ त्यहाँ २० महिनादेखि रहेका प्रशासकीय अधिकृत सारुको सरुवा गरेर नयाँ पठाइएपछि उनले मन्त्रालयसमक्ष असन्तुष्टि भने पोखेका थिए । आर्थिक वर्षको मध्यमा विकास निर्माणले गति लिन थालेका बेला प्रशासकीय अधिकृत नचलाइदिन आफूले आग्रह गरेको बताए । ‘कम्तीमा असारसम्म पुरानै मान्छे बसिदिए राम्रो हुने चाहेका थियौं तर नयाँ आइसकेपछि उहाँको स्वागत र पुरानाको बिदाइ गरिसकेका थियौं,’ उनले भने । एकै दिनको अन्तरमा सरुवाको सूचना पाएका उपाध्याय पनि चकित भएको बताए । ‘मन्त्रीज्यूले पठाएर उहाँसँगको भेटपछि यता आएको हुँ । राजीखुसी हाजिर भएँ,’ उनले भने, ‘हाजिर भएको भोलिपल्टै सरुवाको सूचना पाएर अचम्मित भएको छु ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १७ मा गत पुसमा बढुवा भएका ३७ सहसचिवमध्ये १० जनालाई स्थानीय तहमा पठाइएको थियो तर प्रथम श्रेणीका सहसचिवहरू महानगर र उपमहानगरमा जान मानेनन् । उनीहरूले व्यक्तिगत र सामूहिक रूपमै तथा बाहिरी राजनीतिक दबाब बनाएपछि मन्त्रालयले आठ जनाको सरुवा फेरबदल गरेको छ । सम्बन्धित ठाउँमा हाजिर भइसकेका उपाध्यायबाहेक अन्य आठ जनाको सरुवा परिवर्तन गरिएको छ । फागुन १ गतेको मन्त्रीस्तरीय निर्णयबाट माघ १७ को आफ्नै निर्णय उल्ट्याइएको छ ।
मन्त्रालयले विराटनगर, वीरगन्ज र पोखरा महानगरपालिकामा क्रमशः सहसचिवहरू भीष्मप्रसाद न्यौपाने, कृष्णप्रसाद धिताल र बद्री अधिकारीलाई खटाएको थियो । उपमहानगरतर्फ जनकपुरमा उमेश बस्नेत, कलैयामा राजेन्द्रप्रसाद घिमिरे, जितपुर सिमरामा खड्कबहादुर कार्की र हेटौंडामा उपेन्द्र खनाललाई काज सरुवा गरिएको थियो । घोराहीमा टीकाराम ज्ञवाली, तुलसीपुरमा कृष्णकान्त उपाध्याय र धनगढीमा हरि बखतीलाई पठाइएको थियो तर निर्णयको दुई साता नबित्दै त्यसमध्ये आठ जनाको सरुवा गरिएको छ । त्यसमा सात जनालाई काठमाडौंमै राखिएको छ । विराटनगर पठाइएका न्यौपानेलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, वीरगन्ज तोकिएका कृष्णप्रसाद धिताललाई दलित आयोग, जनकपुर तोकिएका उमेश बस्नेतलाई श्रम मन्त्रालय, जितपुर सिमरा तोकिएका खड्कबहादुर कार्कीलाई मधेसी आयोगमा काज सरुवा गरिएको छ । सरुवा भएर सम्बन्धित ठाउँमा पुग्दै नपुगी १२ दिनमै अर्को सरुवा पाउनेमा हेटौंडा पठाइएका उपेन्द्र खनालको उपराष्ट्रपति कार्यालय, घोराही तोकिएका टीकाराम ज्ञवाली श्रम मन्त्रालय र धनगढी खटाइएका हरि बखतीले राष्ट्रिय समावेशी आयोगमा ठाउँ पाएका छन् ।
बढुवा भएका नयाँ सहसचिवहरूलाई माघ १७ को मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिवहरूलाई स्थानीय तहमा काज सरुवा गरिएको थियो । फेरि अर्को काज सरुवा गरिएको हो । सरुवाको दुई साता भइसक्दासम्म पनि अधिकांश सहसचिव तोकिएका ठाउँमा नगएर काठमाडौंमै बस्न ‘लबिइङ’ गरिरहेका थिए । स्थानीय तहमा खटाइएका मध्ये १/२ जनाबाहेक अधिकांश व्यक्ति तोकिएका ठाउँमा जान नचाहेर उनीहरूले मन्त्री र सचिवमाथि दबाब बढाएको जानकारी मन्त्रालय स्रोतले दिएको छ तर मन्त्रालयका सचिव यादव कोइरालाले आर्थिक वर्षको मध्यमा गरिएका सरुवालाई लिएर मेयरहरूले असन्तुष्टि जनाएपछि महानगर र उपमहानगरमा रहेका पुरानै मान्छेलाई कामकाजमा राख्न यसअघिको निर्णयमा फेरबदल गरिएको बताए । ‘मेयरहरूका गुनासा पनि थिए, फेरि काठमाडौंमा पनि रिक्त स्थान रहेकाले उहाँहरूलाई ती स्थानमा खटाइएको हो,’ उनले भने ।
काठमाडौं महानगरपालिकाबाहेक पाँचवटा महानगर र ११ वटा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने कानुनी व्यवस्था छ । लामो समयदेखि तीन महानगर र १० वटा उपमहानगरमा सहसचिवस्तरका प्रशासकीय प्रमुख छैनन् । सहसचिवको दरबन्दी रहेका ठाउँमा उपसचिवले महानगर र उपमहानगर चलाउँदै आएका छन् । मन्त्रालयले नयाँ बढुवा भएकालाई ती स्थानमा पठाउन खोजेको थियो । मन्त्रालय स्रोतका अनुसार सहसचिवमा बढुवा भएकामध्ये गृह मन्त्रालयले आफूलाई चाहिने व्यक्तिहरू सुरुमै छानेर लगिसकेको छ । त्यसबाहेक केही विषयगत मन्त्रालयका अनुभवीहरू सम्बन्धित मन्त्रालयमै गएका छन् । आफूसँग बाँकी रहेका सहसचिवलाई सामान्यले स्थानीय तहलाई पहिलो प्राथमिकता दिएर पठाउन खोजेको प्रयत्न असफल भएको छ ।

समाचार

परदेशमा आफ्नैले लुटे

- कान्तिपुर संवाददाता
घर फर्किने क्रममा बेहोस बनाई लुटिएका दुई नेपाली गड्डाचौकीस्थित सहायता कक्षमा । तस्बिर ः भवानी/कान्तिपुर

(कञ्चनपुर) - भारतबाट काम गरेर घर फर्किरहेका बाबुछोरा बाटोमै लुटिएका छन् । उत्तराखण्डको कर्णप्रयागमा मजदुरी गरेर फर्किरहेका बर्दियाको बारबर्दिया नगरपालिका–८ का केशरबहादुर मल्ल र उनका बुवा शेरबहादुर लुटिएका हुन् । सँगै रहेका एक नेपालीले चियामा नशालु पदार्थ हालेर खुवाइ बेहोस बनाएर भारु ४५ हजार रुपैयाँ र एउटा मोबाइल सेट लुटी लगेका हुन् ।
बुधबार बिहान कर्णप्रयागबाट हिँडेका उनीहरू साँझ हरिद्वार पुगेका थिए । त्यहाँ दाङ घर बताउने अर्का नेपाली भेटिएका थिए । ‘रुपैडिया आउने बस छुटिसकेकाले तीनैजना बनबासाकै बसमा चढ्यौं,’ केशरले भने, ‘कुराकानी हुँदा उनी हाम्रो नजिक भएका थिए ।’ खाना खाने ठाउँमा उनैले चिया पिउन कर गरे । ‘चिया पिएर हामी सँगै बसमा बस्यौं, बस चलेपछि होस हरायो,’ उनले भने, ‘पैसा र मोबाइल सबै लगेर गयो ।’ आफूसँग भएको ५ हजार र बुबासँग भएको ४० हजार सबै लगेको केशरले बताए ।
केशर चार वर्ष कतारमा रोजगारी गरेर फर्केका थिए । फेरि कतार जानकै लागि उनले रोजगार कम्पनीमा निवेदन दिएका थिए । त्यसकै लागि खर्च जुटाउन उनी बुबासँगै भारत पसेका हुन् । तीन महिना ढुंगामाटोको काम गरेर ४० हजार भएपछि उनीहरू घर फिर्दै थिए । विदेश जान लाग्ने अपुग रकम गाउँमै खोजेर काठमाडौं जाने योजना थियो । बाटोमै लुटिएका बुबा–छोरा बेहोस अवस्थामा महेन्द्रनगर पुगेका हुन् । बुधबार बिहान सीमावर्ती बनबासामा बेहोस
भेटिएका उनीहरूलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा गड्डाचौकी पुर्‍याइएको थियो ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रालयको गड्डाचौकीस्थित सहायता कक्षले उनीहरूलाई महाकाली अस्पताल पुर्‍यायो । उपचारपछि उनीहरू घरतर्फ हिँडेको सहायता कक्षका कर्मचारी दानसिंह बोहराले बताए । ‘भदौमा यो कक्ष राखेयता यस्ता नौवटा घटनाका पीडित
आइपुगेका छन्,’ उनले भने, ‘घर फर्कँदै गरेकालाई नेपालीले नै लुटेका छन् ।’

समाचार

राष्ट्रिय सभा सदस्य उपाध्यायको निधन

- कान्तिपुर संवाददाता

लुम्बिनी (कास)– रूपन्देहीबाट राष्ट्रिय सभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित ४९ वर्षीय उपाध्यायको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावारस्थित निवासमा निधन भएको हो । उनी कांग्रेसबाट राष्ट्रिय सभा सदस्य चयन भएका थिए । ०४६ को जनआन्दोलनदेखि राजनीतिमा सक्रिय उनी ६ महिनायता क्यान्सरबाट थलिएका थिए । राष्ट्रिय सभाअन्तर्गत प्रत्याजित व्यवस्थापन तथा आश्वासन समितिको सदस्य थिए । उनको पदावधि फागुन २० गतेसम्म छ ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उनको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । कांग्रेस सभापति शेरबहदुर देउवाले शोकवक्तव्य जारी गर्दै उपाध्यायको निधनप्रति शोक व्यक्त गरेका छन् ।

समाचार

कोरोनामाथि जितपछि आयोजनामा काम ः राजदूत होउ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसका कारण अहिले चिनियाँहरूले गर्दै आइरहेको कामका आयोजनाहरूमा असर पुगेको उल्लेख गर्दै केही समयपछि उक्त भाइरसविरुद्धको जितसँगै काम फेरि सुरु हुने बताएकी छन् ।
राजदूत यान्छीले शुक्रबार सञ्चारकर्मीलाई आफ्नो लिखित धारणा पठाउँदै त्यसबारे स्पष्ट पारेकी हुन् । धेरै चिनियाँहरू केही समयअघि चीनमा पर्व मनाउन गएको र भाइरसका कारण उनीहरू अहिले फर्कन नसकेको पनि उनले बताइन् । ‘कोरोनाविरुद्ध लडेर अन्त्यमा जब हामी सफलता हासिल गर्छौं । त्यसपछि नेपालका आयोजनाहरूका काम फेरि सुरु हुनेछन्,’ उनको भनाइ छ ।

समाचार

परराष्ट्रमन्त्री बंगलादेश जाँदै

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आगामी सोमबार बंगलादेशको तीनदिने भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवाली आफ्ना समकक्षी बंगलादेशी परराष्ट्रमन्त्री ए के अब्दुल मोमेनको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् ।
मन्त्री ज्ञवालीको टोलीमा परराष्ट्र सचिव शंकरदास बैरागीसहित उद्योग, वाणिज्य तथा आपूर्ति र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका पदाधिकारीहरू पनि हुनेछन् । भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुनेछ । मन्त्रालयका अनुसार ऊर्जा, व्यापार, पारवहन, कनेक्टिभिटी र पर्यटनलगायत विषयमा छलफल हुनेछ ।

Page 14
समाचार

जुर्मुराउँदै थारू आन्दोलन

सांसद रेशम चौधरीसहित ११ जनाको रिहाइ माग
- मोहन बुढाऐर
कैलालीको धनगढी क्याम्पस रोडमा अनशन बसेका थरुहट/थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारूसहितका नेता । तस्बिर ः मोहन/कान्तिपुर 

(धनगढी)  - टीकापुरमा भएको हिंसात्मक घटनापछि सामान्य बनेको थारू आन्दोलन फेरि जुर्मुराउन थालेको छ । थरुहट–थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरीसहित ११ जना रिहाइसँगै १४ बुँदे माग राख्दै आन्दोलन चर्काउने घोषणा गरेका छन् ।
मोर्चाका अध्यक्ष लक्ष्मण थारूले अनिश्चितकालीन आमरण अनशनबाट आन्दोलनको सुरुवात भएको बताएका छन् । उनी बिहीबारदेखि धनगढीको क्याम्पस चोकमा अनशन बसेका छन् । शुक्रबार कोणसभा आयोजना गरेका उनीहरूले हरेक दिन शान्तिपूर्ण प्रदर्शन गर्ने बताए । ‘अब जीवनमरणकै आन्दोलन हुनेछ,’ मोर्चाका अध्यक्ष थारूले भने, ‘यसलाई यति बलियो र शान्तिपूर्ण तथा दबाबपूर्ण बनाउँछौं कि जसबाट सरकार हाम्रा मागलाई सम्बोधन गर्न बाध्य हुनेछ ।’ उनले आफ्नो
अनशन थारूका अधिकार प्राप्त नहुन्जेल नटुट्ने बताए ।
उनका अनुसार १४ बुँदे माग छ । ‘मुख्य तीनवटा माग हुन्,’ उनले भने, ‘पहिलो माग टीकापुर घटनापछि झूटा मुद्दा लगाएर फसाइएका रेशम चौधरीसहित ११ जना कारागारका बन्दीको रिहाइ नै हो ।’
दोस्रो, तत्कालीन गृह मन्त्रालयका सचिव देवीराम शर्माको प्रतिवेदन र संविधान संशोधनमार्फत थारू अधिकारको मुद्दा सम्बोधन हुनुपर्ने माग रहेको उनले बताए । थारूले माघ १४ मा सरकारलाई ज्ञापनपत्र बुझाएर आमरण अनशनसहित शान्तिपूर्ण आन्दोलनमा उत्रेको बताएका थिए ।
यसअघि काठमाडौं र धनगढीमा बौद्धिक समाज र अधिकारवादी संघसंस्थासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको उनले बताए । ‘काराबासको बन्दी जीवनबाट मुक्त भएपछि एक वर्ष आफ्नो तयारी आन्दोलनलाई पुनः ब्युँत्याउनमा खर्चेको छु,’ उनले भने, ‘त्यसैले अबको आन्दोलन यसअघि जस्तो दबाउन सक्ने अवस्थाको हुनेछैन ।’ उत्कर्षमा पुगेको थारू आन्दोलन दबाउनकै लागि टीकापुरको हिंसात्मक घटना गराइएको उनले दाबी गरे ।
संविधान निर्माणका क्रममा ०७२ साउन–भदौमा महिनौंसम्म देशभर विभिन्न जातजाति र समुदायको पहिचानको आन्दोलन चलेको थियो । थारूहरूले पश्चिम नेपालका तराईका जिल्ला थरुहट प्रदेशको माग राख्दै आन्दोलन गरेका थिए । अर्कातिर अखण्ड सुदूरपश्चिमको आन्दोलन चलिरहेको थियो । कैलाली र कञ्चनपुरमा अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलनको घम्साघम्सी र शक्ति प्रदर्शन दिनहुँ भइरहेको थियो । भदौ १० मा टीकापुरमा हिंसात्मक घटना भएको थियो । उक्त घटनामा एक नाबालक र वरिष्ठ प्रहरी अधिकृतसहित सातजना प्रहरी मारिएका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा २७ जना थारू नेता र कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइएको थियो । नेता लक्ष्मण थारूसहित १६ जना थारू ४२ महिनापछि जिल्ला अदालतको फैसलाबाट छुटेका थिए । जिल्ला अदालतले ०७५ फागुनमा १६ जनालाई तीन वर्षको कैद सजाय सुनाएको थियो । कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद रेशम चौधरीसहित ११ जना अझै कैद सजाय भुक्तानी गरिरहेका छन् ।
थारू आन्दोलन परिचालन समितिका जिल्ला संयोजक माधव चौधरीले उक्त घटनाबाट पाठ सिकेर यो आन्दोलन बढी दबाबमूलक ढंगबाट चरम उत्कर्षमा पुर्‍याउने बताए । ‘यो आन्दोलन एक्लो थारूको मात्रै हुनेछैन,’ संयोजक चौधरीले भने, ‘अधिकार प्राप्तिका लागि संघर्षमा रहेका वर्ग, समुदाय सबैको हुनेछ ।’

समाचार

नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ललिता निवास जग्गा अनियमितता प्रकरणमा मन्त्रिपरिषद्को नेतृत्व गर्ने तत्कालीन दुई प्रधानमन्त्रीलाई मुद्दा नचलाउनुको कारण पेस गर्न सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले शुक्रबार तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचल्नुको कारण भए पेस गर्न १५ दिनको म्याद दिएको हो ।
मन्त्रिपरिषद्को नेतृत्व गरेकै कारण भ्रष्टाचारको आरोपबाट उन्मुक्ति पाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उनीहरूलाई पनि प्रतिवादी बनाउन माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । रिट निवेदनमा मन्त्रिपरिषद्का सबै निर्णय नीतिगत हुन नसक्ने भन्दै वरिष्ठ अधिवक्ता न्यौपानेले तत्कालीन प्रधानमन्त्रीहरूमाथि पनि छानबिन गरी संलग्न देखिए भ्रष्टाचार मुद्दा दायर गर्न अख्तियारको नाममा आदेश जारी हुनुपर्ने माग गरेका थिए ।
सर्वोच्च अदालतले यो मुद्दालाई प्राथमिकता दिन पनि आदेश दिएको छ । रिट निवेदनमा वरिष्ठ अधिवक्ता न्यौपानेले अख्तियार, महान्यायाधिवक्ता कार्यालय, विशेष अदालत अनि तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि विपक्षी बनाएका छन् ।

समाचार

पदाधिकारी कुर्दै आयोग कर्मचारी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पुल्चोकस्थित श्रीमहल हाताको भवनमा आदिवासी जनजाति आयोगको बोर्ड टाँगिएको करिब डेढ वर्ष भइसक्यो । भावी पदाधिकारीका निम्ति कार्यालय परिसरमा सातवटा नयाँ गाडी तयारी अवस्थामा राखिएको पनि नौ महिना बित्न लागिसक्यो । तर कर्मचारीका भरमा रहेको आयोगले न कुनै कार्ययोजना बनाउन सकेको छ न नयाँ काम गर्न । कर्मचारीको काम कार्यालय कुर्ने, हाजिर गर्ने र तलब खाने मात्र भइरहेको छ ।
यसअघि सदस्यसचिव तोकिएका सहसचिवले गत भदौमै अवकाश पाएपछि माघ अन्तिम साता सहसचिव सुशील श्रेष्ठ त्यो पदमा आएका छन् । ‘आयोग नयाँ भएकाले पदाधिकारी अभावमा केही कार्ययोजना बनेको छैन,’ उपसचिव कमलप्रसाद घिमिरे भन्छन्, ‘सदस्यसचिव आए पनि पदाधिकारी नभएपछि संविधान तथा आयोगसम्बन्धी ऐनले भनेका काम गर्न नमिल्ने रहेछ ।’ कार्यालय हातामा राखिएका नयाँ गाडी खिया लाग्न थालेपछि सातामा एक दिन आलोपालो चलाउने गरिएको उनले बताए ।
राष्ट्रिय दलित आयोगको कार्यालय ललितपुरको जावलाखेलमा छ । नयाँ संविधानले संवैधानिक आयोग बनाएपछि पदाधिकारी नियुक्त गरिएको छैन । आयोगका उपसचिव तथा प्रवक्ता शंकर दयाल पदाधिकारी नहुँदा संविधान र ऐनमा उल्लेख भएका काम गर्न नसकिएको बताए । ‘पदाधिकारीको अभावमा संविधानबमोजिमका कुनै पनि नीतिगत निर्णय अघि बढेका छैनन्,’ उनले भने, ‘नियमित प्रशासनिक काम मात्र हुँदै आएको छ ।’
राष्ट्रिय महिला आयोगले पनि संवैधानिक हैसियत पाए पनि पदाधिकारी पाउन सकेको छैन । साविकको संरचनाअनुसार आयोगमा नियमित काम तथा विभिन्न परियोजना सञ्चालनमा छन् । आयोगका सूचना अधिकारी ध्रुवराज क्षत्रीले नियमित प्रशासनिक काम मात्र भइरहेको बताए । ‘पदाधिकारी नियुक्त नहुँदा संविधान र ऐनअनुसारका कुनै काम भएका छैनन्,’ उनले भने ।
सरकारले हालसम्म थारू, मुस्लिम, राष्ट्रिय समावेशी र मधेसी आयोगमा अध्यक्ष मात्र नियुक्त गरेको छ । आयोगले पूर्णता नपाएकाले ठोस कार्यनीति अघि बढाउन नसकिएको आर्थिक वर्ष २०७५/७६ को प्रगति प्रतिवेदनमा उल्लेख छ । प्रत्येक आयोगमा एक सहसचिव, दुई उपसचिव, दुई शाखा अधिकृतसहित ३० जना कर्मचारीको दरबन्दी छ । आयोगका अध्यक्ष, पदाधिकारी तथा सदस्यसचिवका लागि सवारीसाधन भने गत असारमै खरिद गरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले संवैधानिक आयोगहरूले चाँडै पूर्णता पाउने बताएका छन् ।

Page 15
खेलकुद

अन्ततः रेलिगेसन

- हिमेश

(काठमाडौं) - कम्तीमा पनि सरस्वती युवा क्लबले अन्तिम खेलको नतिजा यति ठूलो हारमा सकिन्छ भनेर चिताएको थिएन । सरस्वती युवा संकटाको हातबाट ६–२ ले पराजित रह्यो । यो लिगकै सर्वाधिक गोल भएको खेल रह्यो । दोस्रो अन्तिम खेलमै रेलिगेसनमा पर्ने तय भइसकेको थियो, सरस्वती । जति बेला रेफ्री श्रवण लामाले यसपल्टको सहिद स्मारक ‘ए’ डिभिजन लिगको ८७ औं खेल टुंगिएको संकेत गरे, औपचारिक रूपमै सरस्वतीको नाममा जोडिएको ‘ए’ डिभिजनको मान्यता टुंगियो ।
दुःखको संयोग कस्तो रह्यो भने सरस्वतीका पूर्णबहादुर श्रेष्ठले ६५ औं मिनेटमा गरेको आत्मघाती गोल नै यसपालिको लिगको दुई सय गोल रह्यो । पूरा लिगमा सरस्वतीले यस्तो यात्रा तय गरेको थियो कि धेरैलाई लागिरहेको थियो, यो नै त्यो अभागी टिम हो । जुन एकमात्र रेलिगेसनमा पर्ने टिम हुनेछ । नभन्दै त्यही भयो । सुरुका तीन खेलमा कुनै गोल नै गर्न सकेको थिएन । त्यसो त प्रशिक्षक प्रदीप नेपालले सुरुदेखि नै दाबी गरिरहेका थिए, अझै केही खेल बाँकी छन् । सरस्वती सम्हाल्न सफल रहनेछ तर सरस्वतीले सम्हाल्नै सकेन ।
नवौं चरणको खेलमा हिमालयन शेर्पालाई ४–३ ले पराजित गर्दा झिनो आस तयार भएको थियो । त्यसपछि टिम लगातार ४ खेलमा पराजित भयो । ‘क्लब र मेरा लागि सरस्वती रेलिगेसनमा पर्नु निकै दुःखद हो,’ प्रशिक्षक नेपालले स्विकारे, ‘यो पीडादायी छ ।’ वास्तवमै सरस्वती किन रेलिगेसन किन पर्‍यो त ? यसमा उनको जवाफ थियो, ‘हाम्रो अग्रपंक्ति नै चल्न सकेन अनि निर्णायक मोडमा हाम्रो डिफेन्स पनि कमजोर साबित भयो ।’
नेपालले थपे, ‘मैले फुटबल खेल्दा पर्याप्त पैसा थिएन । तर हामी निकै परिश्रम गरेर खेल्थ्यौं । अहिले पैसा धेरै छ, तर खेलाडीले मिहिनेत नै गर्दैनन् । मेरो अनुभवमा अहिलेका पुस्ताका खेलाडीमा त्यो भावना नै छैन । जस्तो हामीमा थियो र हामी त्यसैअनुसार खेल्थ्यौं ।’ हुन पनि पूरा लिगमा जम्माजम्मी १० गोल गरेर कुन टिमबाट धेरै अपेक्षा गर्न सकिन्छ र ? यसमा ६ गोल कजिम एडेगोडेले गरे । विनोद केसीको नाममा दुई गोल रह्यो । बरु उल्टै सरस्वतीले ३६ गोल खायो । १३ खेलबाट ४ अंकमै चित्त बुझायो ।
यसपल्ट सरस्वतीले गरेको सबैभन्दा ठूलो भूल रह्यो, धेरै प्रयोग गर्नु । उसले लिगमा २५ खेलाडी उतारेको थियो । यो प्रतियोगितामा कुनै टिमले प्रयोग गरेको सबैभन्दा बढी खेलाडी रह्यो । यसमध्ये खाली दुई खेलाडीले मात्र सबै खेल खेले । त्यो डिफेन्डरद्वय सुसन लामा र विनोदको थियो । त्यसमाथि विदेशी खेलाडी अनुबन्ध गर्न पनि सरस्वतीले हतार गरेको थियो, जसका कारण उसका विदेशी खेलाडी अपेक्षाअनुसार रहेनन्, तिनले औसत नै खेले । यही लिगकै क्रममा सरस्वतीमाथि ‘म्याच फिक्सिङ’ को कुनै न कुनै रूपमा कालो धब्बा पनि लाग्यो । उसका दीपेश श्रेष्ठले ख्याल–ख्यालमै सही होला हिमालयनका गोलरक्षक किशोर गिरीलाई मिलेर खेल्ने प्रस्ताव राखेको थियो । यही कारण कारवाहीस्वरूप दीपेशले अन्तिम तीन खेल खेल्ने पाएनन् । यसअघि यी मिडफिल्डर सरस्वतीका लागि १० खेलमा पूरा ९० मिनेट खेल्ने एकमात्र खेलाडी थिए । सरस्वतीलाई बरू उल्टै एपीएफ र फ्रेन्ड्सबीचको खेलको नतिजामा गुनासो रह्यो ।
त्यो खेल एपीएफले ५–२ ले जितेको थियो । त्यसलगत्तै सरस्वती च्यासलको हातबाट २–१ ले पराजित रह्यो । ‘मलाई एपीएफ जितेको त्यो खेलको नतिजामा चित्त दुखेको छ,’ घुमाउरो पारामा प्रशिक्षक नेपालले पनि माने । सरस्वतीका केही पदाधिकारीले सामाजिक सन्जालमै सही, भनेका छन्, ‘हामी फेरि ‘ए’ डिभिजनमा फर्कने छौं ।’ तर यो काम त्यति सजिलो हुने छैन । अनि तय के पनि छ भने सरस्वतीको व्यवस्थापनले अहिले जसरी काम गरेको छ, त्यो ‘ए’ डिभिजनमा टिकिरहन पर्याप्त छैन ।


प्रदीप नेपाल
प्रशिक्षक, सरस्वती

सरस्वतीका लागि खेलेका खेलाडी
राज शाही, दीपेश श्रेष्ठ, सुसन लामा, रमेश तामाङ, विनोद केसी, मनीष थापा, वर्षात गुरुङ, सन्तबहादुर गुरुङ, विष्णुकुमार केसी, हिसुब थपलिया, दीपक भुसाल, तीर्थबहादुर बस्नेत, दीपक गुप्ता, कृष्ण रानाभाट, सविन खड्का, पूर्णबहादुर श्रेष्ठ, प्रदीप भण्डारी, मेसक एबेल, एमबेइ एन्ड्रे, राजकुमार घिसिङ, निशान माझी, कृष्णगोपाल श्रेष्ठ, निमान तामाङ, कजिम एडेगोडे र सुनील घलान ।

खेलकुद

ट्वान्टी–२० छनोटलाई टोली

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपालले थाइल्यान्डमा हुने एसीसी इस्टर्न ट्वान्टी–२० छनोटका लागि १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । एसीसी इस्टर्न ट्वान्टी–२० छनोट फेब्रुअरी २९ बाट सुरु हुँदै छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का सन्दीप लामिछाने, विनोद भण्डारी, आरिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल, सुसन भारी, पवन सर्राफ, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की छन् । बुधबार सम्पन्न क्रिकेट विश्वकप लिग २ खेलेको टोलीबाट सुवास खकुरेल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी र ललितनारायण राजवंशीको स्थानमा पवन, सन्दीप जोरा, किशोर र भुवनलाई राखिएको छ । टोली प्रशिक्षकमा जगत टमाटा, भिडियो एनालिस्टमा रमन सिवाकोटी, फिजियोमा विक्रम न्यौपाने र व्यवस्थापकमा माधवकुमार कर्माचार्य छन् । उमेश पटुवालले राजीनामा दिएपछि टमाटालाई पुनः नेपालको प्रशिक्षकमा ल्याइएको हो ।
अगस्टमा मलेसियामा एसिया कपको छनोटका रूपमा रहेको प्रतियोगितामा नेपालले आफ्नो समूहमा चीन, थाइल्यान्ड र मलेसियासँग प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो । तर कोरोना भाइरस संक्रमणका कारण चीनले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिइसकेको छ ।
पूर्वघोषित तालिकाअनुसारको अर्को समूहमा हङकङ, म्यानमार, सिंगापुर र भुटान छन् । फाइनलमा पुग्ने दुई टोलीले एसिया कप छनोटमा चार राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछन् । वेस्टर्न रिजनको फाइनलमा पुग्ने अर्को दुई टोलीले पनि एसिया कप छनोटमा खेल्नेछ ।

खेलकुद

एनएनआईपीएमा युवा अवार्ड थप

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस अवार्डका लागि एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो अमेरिकाले प्रायोजन गरेको छ । संघका संस्थापक महासचिव तथा एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोका सञ्चालक कुमार कार्कीले अवार्डको एउटा विधाका लागि वार्षिक १ लाख रुपैयाँ प्रायोजन गर्ने गरी ५ वर्षे सम्झौता गरेका छन् ।
शुक्रबार संघका अध्यक्ष दीपक श्रेष्ठ र वर्ल्ड क्लासका प्रतिनिधि बलराम घिमिरेबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । फागुन ६ मा वसन्तपुर दरबार स्क्वायरमा हुने उक्त अवार्डअन्तर्गत दुई प्रतिभावान युवा खेलाडी (एक महिला र एक पुरुष) ले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यो विधा यसपालि थपिएको हो । अवार्डको यो संस्करणमा वर्ष २०७५ भर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ । इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा सहभागी २९ खेलका उत्कृष्ट एक–एक खेलाडीलाई सम्मानित गरिनेछ । त्यस्तै पारा खेलकुदतर्फ उत्कृष्ट एक जना पनि सम्मानित हुनेछन् । उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
ती उत्कृष्टमध्ये १–१ महिला र पुरुष खेलाडीलाई सर्वोत्कृष्ट अवार्ड प्रदान गरिनेछ । उनीहरूले जनही १ लाख पाउनेछन् । प्रतिभावान खेलाडीको छनोट पनि तिनै उत्कृष्टमध्येबाट गरिनेछ । अवार्ड कार्यक्रममा गजराज जोशी आदर्श खेलाडी सम्मान र एनएनआईपीए खेलकुद पत्रकारिता पुरस्कारबाट १–१ जनालाई नगदसहित सम्मान गरिनेछ । आदर्श खेलाडी सम्मानको पुरस्कार राशि ३५ हजार र उत्कृष्ट खेलपत्रकारले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

खेलकुद

थापालाई वेस्टर्न ओपन

- कान्तिपुर संवाददाता
धनबहादुर थापालाई विजेता ट्रफी प्रदान गर्दै सूर्य नेपालका ब्रान्ड म्यानेजर केशव प्रधान ।तस्बिर ः कान्तिपुर

(पोखरा) - सूर्य नेपाल गल्फ टुर २०१९–२० अन्तर्गत वेस्टर्न ओपनको उपाधि धनबहादुर थापाले जितेका छन् । पोखराको हिमालय गल्फ कोर्समा शुक्रबार पार ६९ मा उनले उपाधि जितेका हुन् ।
उनले २ अन्डर ६७ कार्ड बनाएर कुल ४ अन्डर २०७ अंक जोड्दै उत्कृष्ट प्रो शिवराम श्रेष्ठमाथि दुई स्ट्रोकको जित दर्ता गरे । श्रेष्ठले ३ अन्डर ६६ कार्ड बनाउँदै कुल २ अन्डर २०५ अंक जोडेका थिए । शुक्र राई प्रतियोगितामा तेस्रो भए । उनले तीन दिनसम्म एक ओभर ७० अंक जोड्दै कुल ३ ओभर २१० अंक बनाए ।
गत सिजनका विजेतासमेत रहेका थापाले १ लाख २५ हजार रुपैयाँ पाए । दोस्रो भएका शिवरामले ७५ हजार र तेस्रो भएका शुक्रले ५५ हजार रुपैयाँ प्राप्त गरे । जयराम श्रेष्ठ २१२ अंकसाथ चौथो हुँदै ४५ हजार रुपैयाँ पाए । सञ्जय लामा र भुवनकुमार रोक्काले समान २१३ अंक जोड्दै पाँचौं भएर ३५ हजार ५०० रुपैयाँ प्राप्त गरे । रवि खड्का ३ ओभर ७२ खेल्दै २१६ मा सातौं भए । उनले ३१ हजार रुपैयाँ पाए । भुवन नगरकोटी र रामकृष्ण श्रेष्ठले २१७ अंक जोडेर आठौं हुँदै २८ हजार रुपैयाँ प्राप्त गरे । विनोद तामाङले २२१ अंकसाथ उत्कृष्ट १० भित्र पर्दै २५ हजार रुपैयाँ पाए ।
३२ प्रो र १६ एम्योचर गल्फरले ५४ होल प्रतियोगितमा सहभागिता जनाएका हुन् । शनिबार ७८ गल्फरबीच प्रो–एम खेल हुँदै छ ।

खेलकुद

बागलुङ विजयी

- कान्तिपुर संवाददाता

पोखरा (कास)– गण्डकी प्रदेशस्तरीय पोखरा पल्टन अन्तरजिल्ला एकदिवसीय क्रिकेट लिगमा शुक्रबार बागलुङले कास्की ‘बी’ लाई ८ विकेटले पराजित गरेको छ ।
पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कास्कीले ३६.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १० रनको सामान्य योगफल बनायो । कास्कीकाबाट सफल श्रेष्ठले ५ चौका प्रहार गर्दै ३० र आकाश शर्माले पनि ५ चौकाकै मद्दतमा २२ रन जोडे । सुदीप भट्टराई १८ रनमा अविजित रहे । बागलुङका प्रशान्त सापकोटाले ४, सुवास भण्डारी र पुष्कल गौडेलले २/२ तथा रोहित कँडेल र सचिन अधिकारीले पनि १/१ विकेट लिए ।
बागलुङले २ विकेट क्षतिमा २०.३ ओभरमा लक्ष्य भेट्टायो । बागलुङको जितमा सचिन अधिकारीले अविजित ३९ तथा बुद्धिबहादुर थापाले अविजित ३७ रन बनाए । कास्कीका सुदीप भट्टराई र दर्पण डाँगीले १/१ विकेट लिए । बागलुङका प्रशान्त सापकोटा म्यान अफ द म्याच भए । प्रतियोगिता संयोजक चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ ले उनलाई ट्रफी प्रदान गरे ।

खेलकुद

जया र ऋत च्याम्पियन

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– जया मल्टिपल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहको टग अफ वारमा च्याम्पियन बनेका छन् । जया ब्वाइज र ऋत गर्ल्समा विजेता भए । ब्वाइज फाइनलमा जयाले गोल्डेनगेटलाई २–० ले र ऋतले हिमालयलाई २–० ले हराए । सोही प्रतियोगिताको बास्केटबलतर्फ साइपाल एकेडेमी गर्ल्समा फाइनल पुगेको छ । ऋत एकेडेमीको कोर्टमा साइपालले सीसीआरसीलाई ३५–१७ स्कोरले हरायो । साइपालकी अस्मिता तामाङले ९ स्कोर जोडिन् । गर्ल्समा ऋत एकेडेमीले हिमालयन ह्वाइटहाउसबाट वाकओभर पायो । ब्वाइजमा आइन्सटाइनले ऋतलाई २६–२२ र सीसीआरसीले गोल्डेनगेटलाई ४५–३१ ले हराएर सेमिफाइनल सुरक्षित गरे । आइन्सटाइनका निर्मल मगरले ९ र सीसीआरसीका सिजन महतले १८ स्कोर गरे । टाइम्सले ह्वाइटहाउसलाई ४१–३४ र साइपालले ह्वाइटफिल्डलाई ३१–६ ले हराएर क्वाटरफाइनलमा स्थान बनाए । टाइम्सका पेम्बा शेर्पाले १६ र साइपालका रवि बलामीले १५ स्कोर जोडे ।

खेलकुद

ग्रिनफिल्ड र ऋत भिड्ने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ग्रिनफिल्ड र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुदको भलिबलतर्फ फाइनलमा पुगेका छन् । गर्ल्सतर्फ शुक्रबार सेमिफाइनलमा ग्रिनफिल्डले ग्लेसियरलाई २५–११, २५–७ र ऋतले सीसीआरसीलाई २५–१०, २५–१७ को सोझो सेटमा हराए । ब्वाइजमा गीताञ्जली र जुबिलियन्ट उपाधिलाई भिड्नेछन् । गीताञ्जलीले सीसीआरसीलाई २५–२१, २५–१५ र जुबिलियन्टले प्रिसियसलाई २५–२३, २५–२२ को सेटमा हराए । शुक्रबारै गीताञ्जलीले एन्जल्स हार्ट र जुबिलियन्टले ग्लेसियरलाई हराएर सेमिफाइनल गरेका हुन् । सोही प्रतियोगिताको ब्वाइज फुटसलमा टाइम्स र समृद्धि फाइनल पुगेका छन् । सेमिफाइनलमा टाइम्सले काष्ठमण्डपलाई ३–१ र समृद्धिले नोबेललाई ५–० ले पराजित गरे । ब्वाइजमा १५ टिम सहभागी छन् । 

खेलकुद

चार खेलमा ईबीए विजयी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– आयोजक इडेन ब्रिज एकेडेमी (ईबीए) ले दोस्रो ईबीए कप अन्तरविद्यालय बास्केटबलमा शुक्रबार विजयी सुरुआत गरेको छ । ईबीएले जुनियर ब्वाइज र सिनियर गर्ल्सको थ्री बाइ थ्रीमा २–२ खेल खेल्यो । चारै खेलमा इबीए जित निकाल्न सफल भयो । जुनियर ब्वाइजमा इबीएले फ्युजनलाई १७–५ ले पराजित गर्‍यो । समिर खनालले ९ स्कोर गरे । सुनील मल्लको ८ स्कोरमा इबीएले स्किम्सलाई १६–१० ले हरायो । गर्ल्समा ईबीए ‘ए’ ले अमृत ‘ए’ लाई ९–३ ले पाखा लगायो । इशा मगरले ६ स्कोर गरिन् । ईबीए ‘बी’ ले अमृत ‘बी’ लाई १०–२ ले पन्छायो । जोशना मगरले ६ अंक जोडिन् । पारामाउन्टले अमृतलाई ५–२ ले पराजित गर्‍यो । भ्याली पब्लिकविरुद्ध पारामाउन्ट २–९ ले पछि पर्‍यो । भ्यालीका सौगात तामाङले ५ स्कोर जाडे । 

Page 16
खेलकुद

उत्कृष्ट खेलाडीविरुद्ध टिम–वर्क

एउटा टिमका रुपमा उत्कृष्ट प्रदर्शन गरिरहेको आर्मीले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधिको निर्णायक खेलमा व्यक्तिगत कौशलका आधारमा उत्कृष्ट मानिएको मछिन्द्रविरूद्ध शनिबार प्रतिस्पर्धा गर्दै छ ।
- कान्तिपुर संवाददाता
सहिद स्मारक लिगको निर्णायक खेल अगाडि आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवास तथा मछिन्द्रका कप्तान विराज महर्जन र प्रशिक्षक प्रवेश कटुवाल । तस्बिर ः हेमन्त श्रेष्ठ/कान्तिपुर

(काठमाडौं) - आर्मी र मछिन्द्र सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै छन् र यही खेलको नतिजाले नयाँ च्याम्पियनको टुंगो लगाउनेछ । दुवै टिमले ९ जित, २ बराबरी र १ हारको नतिजा निकालेका छन् । तर गत वर्षको लिगमा अन्तिमबाट दोस्रोमा रहेकाले १ अंक घटुवामा परेपछि मछिन्द्र यो सिजन २८ अंकमै सीमित भएको हो । आर्मीको २९ अंक छ । त्यसैले आर्मीलाई अन्तिम खेलमा बराबरी नतिजा पनि च्याम्पियन बन्न पर्याप्त हुनेछ । मछिन्द्रलाई भने ट्रफी चुम्नके लागि १३ औं खेलमा ३ अंक जोड्नुको विकल्प छैन । १ अंक कारबाहीमा नपरेको भए यो समीकरण ठीक उल्टो हुने थियो, गोल अन्तरका आधारमा ।
दशरथ रंगशालामा शनिबार हुने उपाधि होडको निर्णायक खेलको प्रतिद्वन्द्वी आर्मीको बलियो पक्षबारे मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल भन्छन्, ‘आर्मीको बलियो पक्ष नै टिम–वर्क हो । उसका खेलाडी ४–५ वर्षदेखि सँगै खेलिरहेका छन् । हामीले स्टार खेलाडी भेला गर्‍यौं भन्छन्, फुबटलमा त्यो नै बलियो होइन, स्टार खेलाडी भए पनि सुरुमै टिममा सेट हुँदैन । टिमले खेल्ने गेम हो यो, व्यक्तिगत होइन । एउटा टिमले गर्ने कामका रूपमा आर्मी राम्रो छ ।’
आफ्नो टिमको क्षमताबारे नवीन न्यौपानेले भने, ‘हाम्रो विभागीय टिम भएकाले सधैं खेल्नुपर्ने, निरन्तर ट्रेनिङ गर्नुपर्ने र मैदानको उपलब्धता हुन्छ । त्यसैले टिम–वर्क राम्रो भएको हो ।’ प्रतिद्वन्द्वीबारे उनले भने, ‘मछिन्द्रका खेलाडीको व्यक्तिगत कौशल एकदमै राम्रो छ । सबै खेलाडी उत्कृष्ट छन्, नतिजा त्यस्तै आइरहेको छ । विदेशी खेलाडी पनि झन् बलिया छन् । व्यक्तिगत कौशलका आधारमा उनीहरूलाई रोक्न हामीलाई एदकमै गाह्रो हुन्छ ।’
नवीनको कुरामा प्रवेश पनि सहमत छन् । भन्छन्, ‘दाइले भनेजस्तै हाम्रो टिम व्यक्तिगत रूपमा टेक्टिकल्ली धेरै राम्रो छ । टिम–वर्क थोरै नभए पनि विदेशी खेलाडी र व्यक्तिगत रूपमा उत्कृष्ट छौं ।’ उनको टिमले लिगका लागि १५ दिनमात्रै अभ्यास गरेको थियो । आर्मी भने सधैं अभ्यास गरिरहने टिम हो । प्रवेशलाई प्रशिक्षकका रूपमा नवीनको ‘स–साना गल्ती पत्ता लगाएर अर्को खेलमा सुधार गर्ने’ कला एकदमै मनपर्छ । योजनाअनुसार खेलाउने र त्यति धेरै स्टार खेलाडीहरूलाई सम्हाल्ने प्रवेशको खुबीको प्रशंसा गर्छन् नवीन, ‘स्टारहरू सबैलाई सन्तुलित रूपमा खेलाउनु र सम्हाल्नु धेरै
गाह्रो हुन्छ ।’
लिगको सुरुबाट आर्मीको स्कोरिङमा समस्या देखिरहेको छ । यसलार्ई स्विकार्छन्, नवीन, ‘हाम्रो स्कोरिङमा समस्या छ । सानो गल्तीमा गोल पनि खाइएको छ । तर यसपालि जित्नुपर्छ है भनेर टिमका सबैले इफोर्ट दिएर खेलिरहेका छन्, त्यो नै हाम्रो टिम–वर्क हो र सबभन्दा बलियो पक्ष पनि ।’ प्रवेशले आफ्नै टिमबारे भने, ‘यो टिम गेम हो, टिम–वर्क नै मुख्य हो । ११ जना होइन, हाम्रोमा १५ जना नै स्टार छन् । यी खेलाडीहरू एउटा टिमका रूपमा हुनु नै सबभन्दा बलियो पक्ष हो ।’
‘नाइट क्लब काण्ड’ को निलम्बनमा परेपछि मैदानमा फर्किंदै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् सन्तोष तामाङले । ‘सन्तोष आएपछि आर्मीको मनोबल धेरै बढेको छ,’ उनीसँग सचेत रहेका मछिन्द्रका प्रशिक्षक प्रवेशले भने, ‘उनी बल सटीक रूपमा फाल्ने गर्छन्, जुन विपक्षीलई खतरनाक हुने गर्छ । बक्स बाहिरबाट फ्रि–किक पनि उस्तै हान्छन् । पास उस्तै सटीक हुन्छ ।’ सन्तोष ४५ दिन निलम्बनमा परेका थिए । ९० दिन निलम्बनमा रहेका फरवार्ड विमल घर्तीमगरले शनिबार मछिन्द्रबाट खेल्दै पुनरागमन गर्नेछन् । सुजल श्रेष्ठ, रेजिन सुब्बा, दीपक राईको चोटले भने टिमलाई नै सताएको छ । हेमन गुरुङ र अभिषेक रिजाल नहुँदाको पीडा त छँदै छ ।
पहिलोपल्ट लिग च्याम्पियन हुने होडमा मनाङ र थ्रीस्टारका नाम चलेका खेलाडीलाई बटुलेर बलियो बनेको हो मछिन्द्र । उसको यो अभियानमा मिडफिल्डर विशाल राई प्रभावशाली देखिएका छन् । यसबाट सचेत छन् आर्मीका प्रशिक्षक नवीन, ‘विशालले एदकमै राम्रो खेलिरहेका छन् । स्कोर गर्ने ठाउँमा पुगिरहेका हुन्छन्, पाएको मौका उपयोग गरिहाल्छन् । डिफेन्स, आक्रमण जहाँ पनि पुग्छन् । सही समयमा सही निर्णय गर्छन् ।’ उनी मछिन्द्रका लेफ्ट–ब्याक रजिन धिमालको प्रदर्शनलाई पनि उत्कृष्ट मान्छन् । सेन्टरब्याक देवेन्द्र तामाङ पनि मछिन्द्रका मुख्य खेलाडी देखिएका छन् ।
आर्मीमा विदेशी खलाडी राख्ने व्यवस्था छैन र यसैमा बलियो बनेको छ तीन अफ्रिकी ल्याएर मछिन्द्र । युवा सेन्टरब्याक विकास खवास निकै उत्कृष्ट लयमा छन् । ‘पहिला राकेश श्रेष्ठले बनाएको छवि विकासमा देखेको छु,’ प्रशिक्षक नवीनले भने । उनी गोलकिपर विकेश कुथुप्रति पनि विश्वस्त छन्, ‘विकेशले राष्ट्रिय टिम, दक्षिण एसियाली खेलकुदमा आफूलाई सावित गरिसकेका छन् । ढुक्क भएर खेल्छन् ।’ उनले ब्रिगेड ब्वाइजविरुद्ध ३–० को जित निकालेको बाहेक सबै खेल गाह्रो भएको उल्ल्खे गर्दै भने, ‘अरूको खेल हेर्दा हामी सजिलै जित्छौं जस्तो लाग्छ तर त्यही टिमले हामीसँग राम्रो खेल्छ । हामी तीव्र गतिमा खेल्ने भएकाले त्यसको विकल्प नपाएको हुन सक्छ र उस्तै खेल्छन् ।’ फरवार्ड दिनेश हेन्जन चोटले बाहिरिएपछि उनको स्थानमा टेकबहादुर बुढाथोकी वा टंक बस्नेतले अवसर पाउनेछन् ।
मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठप्रति पनि विश्वस्त छन् प्रवेश । भन्छन्, ‘विशालले राम्रै गरिरहेका छन्, गोलकिपर हो कहिलेकाहीं त्यस्तो (कमजोरी) भइहाल्छ । तर एपीएफसँग उत्कृष्ट बचाउ गरेका थिए ।’ उनले हिमालयन शेर्पाविरुद्ध २–० को हार प्रतिकूल परिस्थितमा बेहोरेको पनि बताए । सरस्वती, संकटा, फ्रेन्ड्स र ब्रिगेड ब्वाइजविरुद्धको जितबाहेक अरू सबै खेलमा निकै कडा चुनौती बेहोरेको मान्छन् उनी । आर्मी र मछिन्द्रले १–१ खेलमात्रै हारेका छन् । आर्मीले मनाङ र मछिन्द्रले हिमालयन शेर्पाविरुद्ध अंक गुमाएका थिए ।

उपाधि कसले जित्छ त ?
प्रवेशले भने, ‘हामीलाई धेरै चुनौती छ, गाह्रो पनि छ । किनभने आर्मीलाई दुइटा विकल्प छ जित र बराबरीको । हामीलाई जितको विकल्प छैन । सुरुमै लिग च्याम्पियन हुन्छौं भनेको थिएँ त्यसैले हामी जित्छौं भन्ने लाग्छ ।’
नवीन भन्छन्, ‘आफ्नो पाटोबाट हेर्दा आफ्नै टिमलाई जिताउन चाहन्छौं । किनभने इतिहास रच्ने अवसर हो । जित्नैपर्छ भन्ने भावना पुलिससँग दुईपल्ट पछाडि परेर पनि कमब्याक गर्दा देखियो । त्यो इफोर्ट लिएर त्यो लेबलसम्म खेल्छन् जस्तो लागेको थिएन ।’
बल ‘होल्ड’ गरेर खेल्न नसक्नु आर्मीको कमजोरी हो । त्यसैले खेलाडीको क्षमताअनुसार रणनीति बनाएको र त्यसैमा सफलता पाइरहेको प्रशिक्षक नवीनले बताए । उनले थपे, ‘हामीलाई बराबरी र जितमा उपाधि जित्ने अवसर छ । तर हामी जितकै लागि खेल्नेछौं । मछिन्द्रले पनि जितकै लागि खेल्नेछ । त्यसैले खेल आकर्षक हुन्छ भन्ने लाग्छ ।’ प्रवेशले भने, ‘खेलाडीले आफ्नो क्षमता र स्तरलाई मैदानमा शतप्रतिशत दिए भने जित पक्कै हाम्रो हुनेछ । कहिलेकाहीं क्षमताअनुसार खेल्दैनन् त्यो चाहिँ समस्या छ ।’ उनको टिम आर्मीविरुद्ध लिगमा २०६३ सालयता पहिलोपल्ट जित निकाल्न सकेमात्रै च्याम्पियन बन्नेछ ।

 

ॅए’ डिभिजन लिग २०७६

आर्मी
२–१ फ्रेन्ड्स
०–१ मनाङ
२–० हिमालयन शेर्पा
२–० थ्रीस्टार
१–० सरस्वती
१–१ संकटा
३–० च्यासल
०–० एनआरटी
१–० जावलाखेल
४–२ पुलिस
२–१ एपीएफ
३–० ब्रिगेड ब्वाइज

मछिन्द्र
२–० ब्रिगेड ब्वाइज
१–१ च्यासल
३–० फ्रेन्ड्स
१–० एनआरटी
२–२ मनाङ
१–० जावलाखेल
०–२ हिमालयन शेर्पा
१–० पुलिस
२–० थ्रीस्टार
२–१ एपीएफ
६–१ सरस्वती
३–१ संकटा


हेड टु हेड
आर्मी मछिन्द्र
११ खेल ११
६ जित १
४ बराबर ४
१ हार ६
१६ गोल ८

आजको खेल
मछिन्द्रविरुद्ध आर्मी
१३ः ३० बजे
दशरथ रंगशाला
३ फागुन २०७६

खेलकुद

नवीन सँगसँगै प्रवेश

- कान्तिपुर संवाददाता

(काठमाडौं) - नेपालले पहिलोपल्ट एसियालीस्तरमा छनोट पार गरेर एएफसी यू–१७ च्याम्पियनसिप (सन् २०००) भियतनाममा खेलेको थियो । त्यही टिमका खेलाडी हुन् नवीन न्यौपाने र प्रवेश कटुवाल । उमेर समूहको राष्ट्रिय टिममा यू–२३ सम्मै सँगै खेले । झन्डै दुई दशकको करिअरमा यी दुई क्लबमा पनि एक सिजन सहकर्मी भए, मनाङ–मर्स्याङ्दीका लागि २०६३ मा । एकैसाथ राष्ट्रिय लिग २०७२ सकिएपछि ‘बुट’ थन्क्याएका यी दुई शनिबार भने प्रतिद्वन्द्वीका रूपमा उत्रिँदै छन्, मैदानकै नजिक टचलाइनमा । ‘ए’ डिभिजन लिगमा नवीनले आर्मी सम्हालेका छन् भने प्रवेशले मछिन्द्र ।
नवीनले यू–१६ को क्याम्पमा हुँदै नक्साल युवा मण्डलबाट २०५४ सालमा ‘ए’ डिभिजन लिग खेलेका थिए । प्रवेशले क्याम्पबाहिर जाने मौका पाएनन् । त्यसैले उनको पहिलो ‘ए’ डिभिजन लिग बन्यो २०५७ को, जहाँ उनी थ्रीस्टारबाट खेलेका थिए । नवीन लामो समय राष्ट्रिय टिममा रहे तर धेरैजसो बेन्चमै सीमित भए । प्रवेशले भने नवौं साग २००४ (यू–२३) मा बेन्चमै सीमित भएपछि राष्ट्रिय टिमतिर मन लगाएनन्, प्रशिक्षककै कारण पनि हुन सक्छ । त्यसैले उनले सिनियर राष्ट्रिय टिमबाट औपचारिक रूपमा खेल्नै पाएनन् । नवीन र प्रवेशको करिअरलाई गणेश थापा र गीता राणाको नेतृत्वको लडाइँले पनि असर गरेको थियो ।
यी दुई एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गरेपछि प्रशिक्षकको जिम्मेवारीतिर ढल्किएका हुन् । कोचिङ करिअरमा पनि प्रवेशभन्दा एक ब्याच सिनियर हुन् नवीन । नवीनले चारपल्ट ‘ए’ डिभिजन लिगको उपाधि जितेका छन् । चारै उपाधि मनाङबाट (२०५७, ०६०, ०६२ र ०७०) । प्रवेश थ्रीस्टारसँग २०६९ मा च्याम्पियन भए । नवीनले नक्साल, एनआरटी र हिमालयन शेर्पाबाट पनि खेले भने प्रवेशले मनाङ, आरसीटी, मछिन्द्र र झापा–११ का लागि पनि मिडफिल्ड सम्हाले ।
प्रशिक्षकका रूपमा गाह्रो कि खेलाडीको भूमिकामा ? ४० वर्षीय नवीन भन्छन्, ‘खेलाडीभन्दा प्रशिक्षक बन्न धेरै गाह्रो । हरेक खेलाडी, सब्स्टिच्युटदेखि बाहिरको जिम्मेवारी हेर्नुपर्ने भएकाले प्रशिक्षकको धेरै ठूलो भूमिका हुने रहेछ । उनीभन्दा १ वर्ष कान्छो प्रवेशले भने, ‘दाइकै कुरामा सहमत छु । नेपालमा धेरै गाह्रो छ, बाहिर कोचिङ स्टाफ हुन्छ तर यहाँ एउटै व्यक्तिले कोण राख्नेदेखि खेलाडीलाई हेर्ने, उसको मानसिक अवस्था, आनीबानी विचार गर्ने सबै काम प्रशिक्षकले गर्नुपर्छ ।’
प्रशिक्षकका रूपमा नवीन र प्रवेश नकआउट फुटबलको फाइनलमा धेरैपल्ट भेट भइसकेका छन् । त्यसमा बाजी नवीनले नै मारेका छन्, झापा गोल्डकप र माईभ्याली गोल्डकपमा ।
टचलाइनमा सँगसँगै देखिँदाको अनुभवबारे प्रवेशले भने, ‘हामी दुवै खेलेरै आएका प्रशिक्षक हौं धेरै खुसी लाग्छ । नवीन बोले, ‘टचलाइनमा हामी दुवै सँगै हुँदा गर्व लाग्छ । सँगै खेलेका कति साथीहरू विदेश गए । हामी यतिका वर्षदेखि फुटबलमा लागिरहेका छौं । नेपालको परिप्रेक्ष्यमा लिग कहिले हुन्छ, कहिले हुँदैन । निरन्तर छैन । निरन्तर भइदिए हामीजस्तै सँगै खेलेका अरू पनि प्रशिक्षक हुन्थे होला ।’ उनले थपे, ‘हामीले एकअर्काले आ–आफ्नो ठाउँमा काम गर्ने हो, आ–आफ्नो टिमलाई जिताउन प्रयास गर्ने हो । टचलाइनमा एउटै पुस्ताको कोचले शीर्ष टिम हेर्दै छौं, यसले गर्व महसुस गराउँछ ।’
यी दुवै भलाद्मी छविका खेलाडी हुन् । ‘प्रवेशलाई हामी पहिलादेखि नै बेबी भन्थ्यौं,’ नवीनले सुनाए, ‘एकदमै मिलनसार, झैझगडा कोहीसँग कहिल्यै नगर्ने, सबैलाई सम्मान गर्ने व्यक्ति हुन् उनी ।’ नवीनबारे प्रवेशले भने, ‘टिममा उहाँलाई बाहुन, बाजे भनेर जिस्क्याउँथे तर म सम्मान गर्दै सधैं दाइ नै भन्छु । एकदमै मिलनसार र भलाद्मी हुनुहुन्छ । हामी भेट्दा सधैं रेला गर्छौं, रमाइलो गर्छौं । अब दाइ च्याम्पियन हुने कि म ? एउटा रमाइले पक्ष भइरहेको छ ।’ प्रवेश राइट विंग्सबाट नवीनले गरेका सटीक क्रस अहिले पनि सम्झिन्छन्, ‘घोप्टेर क्रस फाल्थे, सेन्टरबाटै पनि एदकमै राम्रो, किलर क्रस, टच गर्नेबित्तिकै गोल हुन्थ्यो, फरवार्डलाई सजिलो र विपक्षीले पनि आफ्नै पोस्टमा गोल गर्न पुग्थे । दाइ राष्ट्रिय टिमबाट खेल्न नपाउँदा छक्क लाग्थ्यो ।’ नवीन भन्छन्, ‘प्रवेशको प्लेमेकरको भूमिका एदकमै राम्रो । बल पोजेसन राख्ने, बल एदकमै होल्ड गर्ने, सप्लाइ गर्ने, सप्लाइ एकदमै पर्फेक्ट हुन्थ्यो ।’


भरत–विराज
संयोग नै मान्नुपर्छ, आर्मीका कप्तान भरत खवास र मछिन्द्रका कप्तान विराज महर्जन एन्फा एकेडेमीको एउटै ब्याचका खेलाडी हुन् । भरतले पुलिसमा छँदा ‘ए’ डिभिजन लिगको उपाधि जितेका थिए । विराजले मनाङबाट ट्रफी उठाइसकेका छन् । मछिन्द्रका अरू थुप्रै खेलाडी च्याम्पियन भइसकेका छन् । भरत भने विजेता भइसकेका आर्मीका एक्लो खेलाडी हुन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फोटो सेसनपछि भरतले विराजलाई भने, ‘आज तिमी उठाऊ (ट्रफी), भोलि म उचाल्छु ।’ विराज हाँसेमात्रै । ‘ए’ डिभिजन लिगको नयाँ च्याम्पियन जो बन्छ, उसैले उचाल्नेछ ट्रफी । विराज वा भरत ? शनिबारको नतिजाले प्रस्ट पार्ने नै छ ।

खेलकुद

गोक्यो तालमाथि आइस हक्की र स्केटिङ

- कान्तिपुर संवाददाता

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामुअन्तर्गत गोक्यो ताल–३ मा आइस हक्की र स्केटिङ खेलको सफल परीक्षण गरिएको छ । शुक्रबार बिहान प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उक्त हक्की तथा स्केटिङको उद्घाटन गरेका हुन् ।
रुस, अमेरिका, क्यानडा, भारतलगायत देशका १७ खेलाडीले हक्की तथा स्केटिङ खेलेका थिए । ४ हजार ८ सय मिटर उचाइमा रहेको गोक्यो तालमाथि खेल आयोजना गर्नुको उद्देश्य नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन रहेको भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले बताए ।
‘योचाहिँ परीक्षण मात्रै हो ।
आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्छ । साहसिक खेल पर्यटनलाई प्रोत्साहन तथा आकर्षण गर्नका लागि यो खेल आयोजना गरिएको हो,’ उनले भने ।
करिब २३ सहभागी रहेको उक्त कार्यक्रममा राजदूत र खेलाडी थिए । ‘यस्तो खेललाई अझै प्रचार गर्नुपर्छ । पर्यटन क्षेत्र आम्दानी स्रोत पनि हो । प्रदेश–१ मा यस्ता धेरै ठाउँ छन् । यसलाई प्रदेश १ ले अझै एक्सप्लोर गर्नेछ,’ मन्त्री राईले भने ।
शब्द/तस्बिर ः कञ्चन अधिकारी

खेलकुद

साइपाल विजेता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सीसीआरसी र साइपाल एकेडेमीले नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट कप अन्तरकलेज बास्केटबल जितेका छन् । शुक्रबार सीसीआरसी ब्वाइज र साइपाल गर्ल्समा विजेता बने । फाइनलमा सीसीआरसीले ओमेगालाई ७७–६१ स्कोरले हरायो । सीसीआरसीका अनमोल खत्रीले २८ स्कोर गरे । विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाए । गर्ल्स फाइनलमा अस्मिता थापाको १९ स्कोरमा साइपालले रिलायन्सलाई ४७–२७ ले हरायो ।
साइपालले १५ हजार र रिलायन्सले १० हजार रुपैयाँ पाए । आयोजक क्वेस्टका संस्थापक स्व. नारायणप्रसाद श्रेष्ठको स्मृतिमा भएको प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय अनमोल र अस्मिता मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

Page 17
कोसेली

ममीलाई सलामी

- सुजित मैनाली

इजिप्टको गिजा सहरस्थित पिरामिड ।

सहर–बजारको साँघुरोपनासँग अभ्यस्त मान्छे प्रकृतिको खुला काखमा बढी रमाउँछ । प्रकृतिको बीचमा हुर्किएको गाउँलेलाई चाहिँ सहरको वैभव भोग्ने मोह हुन्छ । यस्तै मनोभावका कारण हुनेखाने सहरियाहरू हिमाल, पहाड, नदी, कन्दरा, जंगल, सागर चहारी हिँड्ने गर्छन् । विकसित सहर भोग्न नपाएका नेपालजस्ता अल्पविकसित देशका मानिसचाहिँ विदेशका भव्य सहर टेक्ने चाँजोपाजो मिलाउनमै जीवनको महत्त्वपूर्ण ऊर्जा क्षय गरिरहेका हुन्छन् ।
प्रकृति र विकसित सहर घुम्ने यस्तो खालको होडबाजीबाट इतिहास–संस्कृतिप्रति अभिरुचि राख्नेहरू एक हदसम्म मुक्त हुन्छन्जस्तो मलाई लाग्छ । उनीहरूका लागि संसारको सबैभन्दा घुम्नलायक ठाउँ त्यो हो जुन प्राचीन छ, जहाँका प्राचीन भग्नावशेष नियालेर आफू पनि त्यही समयमा बाँचिरहेको महसुस गर्न पाइन्छ । यस्तो अभिरुचि भएका व्यक्तिलाई संसारकै प्राचीनतम सभ्यताको अवशेष बोकेको ठाउँ घुम्नुजस्तो सुखद सन्दर्भ अर्को के होला र ? त्यस्तै महसुस गरें मैले, गत कात्तिकको मध्यतिर इजिप्ट पुग्दा ।

संसारकै प्राचीन सभ्यता उद्भव भएर चरमचुलीमा पुगेको स्थान हुनुको नाताले इजिप्ट विशिष्ट महत्त्व बोकेको देशमध्येमा पर्छ । इजिप्टको प्राचीनताबारे कायरो, लक्सोरलगायत सहरका हजारौं वर्ष पुराना स्मारक, चिहान, भित्तेचित्र, भौतिक निर्माणका अवशेष आदिले साबिति बकिरहेका हुन्छन् । यति हुँदाहुँदै पनि इजिप्टको प्राचीनता नाप्ने महत्त्वपूर्ण अवशेषका रूपमा अधिकांशले कायरोछेउको गिजा सहरस्थित पिरामिड र लक्सोर सहरको गर्तमा फेला परेर कायरोलगायत ठाउँमा राखिएका ममीलाई लिने गरेका छन् ।
इजिप्टबारे सुन्नासाथ धेरैको मनमा पिरामिडको बिम्ब बन्ने गर्छ । अतीतको भव्य स्मृतिसहित ठडिएका गिजा सहरका तीनवटा विशाल पिरामिड इसापूर्व करिब २५ सय वर्षअघि निर्माण भएको अनुमान गरिन्छ । त्यति प्राचीन समयमा त्यत्रो स्मारक निर्माण गर्न सक्ने प्रविधिबारे पुराविद्याका शोधार्थी, आर्किटेक्टहरूले अध्ययन गरिरहेका छन् । इजिप्ट भ्रमणका क्रममा पिरामिड भएको स्थल घुम्नुअगावै मैले लक्सोर सहर पुगेर आलिशान प्राचीन महल, ममी फेला परेका चिहान, पुराना भित्तेचित्र आदि हेरिसकेकाले आँखैअगाडि ठडिएको पिरामिडले मेरो मनमा कौतूहल र उत्साहका लहर उतिसाह्रो पैदा गर्न सकेनन् ।
इजिप्टमा मलाई सबैभन्दा अद्भुत लागेको कुरो मृत्युसँग सम्बन्धित थियो । इजिप्टको गर्तमा पाइएका चिहान र त्यहाँभित्र फेला परेर हाल कायरोस्थित इजिप्सियन म्युजियमको ‘रोयल ममिज हल’ मा राखिएका ममीहरूले प्राचीन जीवनबारे अनेक खुलासा गरिरहेका थिए । मृत्युले जीवनबारे बताइरहेको क्षणको साक्षी बन्न पाउनु अद्भुत थियो । प्राचीन चिहानको कलाकौशल र ममी हेर्दै गर्दा मलाई मृत्युको पुरातत्त्वप्रति अभिरुचि राख्नेहरूका लागि इजिप्ट खुला संग्रहालय रै’छ भन्ने महसुस भयो ।
कायरोको प्रसिद्ध ताहिरिर स्क्वायरछेउको म्युजिममा राखिएका प्रायः सबै ममी लक्सोर सहरमा उत्खनन गर्दा पाइएका रहेछन् । ताजा शवको भित्र्याँस झिकेर बाँकीलाई नकुहिने गरी मानवाकृतिमै सुकुटी बनाएर हजारौं वर्षसम्म सुरक्षित राखिएको वस्तुलाई ममी भनिन्छ । लक्सोर इजिप्टको सबैभन्दा पुरानो सहर हो । प्राचीन समयमा इजिप्टको राजधानी त्यहीँ रै’छ । त्यतिबेला लक्सोरलाई वासेट भनिँदो रै’छ । इजिप्टमा प्राचीन सभ्यता छँदा छिमेकी ग्रीसमा प्राचीन एथेन्स सभ्यता मौलाइरहेको थियो । भू–मध्यसागरले छुट्याएका यी दुई सभ्यताबीच कला/संस्कृति र विचारसँगै वैरको पनि आदानप्रदान हुने गर्थ्यो । एथेन्सवासीले लक्सोरलाई त्यतिबेला थिब्स भन्दा रै’छन् । बाहिरबाट आएका मानिसको इजिप्ट बसाइलाई मोहक बनाउने र इजिप्टको सुदूर विगतलाई रहस्यमय तुल्याउने अधिकांश सामग्री लक्सोरमै उपलब्ध रहेको मैले पाएँ । कायरो, गिजा अथवा एलेक्जेन्ड्रिया सहर पुगेर कसैले लक्सोर घुम्न छुटायो भने उसले प्राचीन इजिप्टको आत्मासँग साक्षत्कार गर्न पनि छुटाउने रै’छ ।
लुम्बिनी र तिलौराकोटको प्राचीनतासँग अभ्यस्त मलाई प्राचीन समयको अवशेष भनेकै घर बनाउन प्रयोग गरिएका ढुंगा अथवा इँटाका टुक्रा, आवास अथवा सहरका पुराना नाली झल्काउने भग्न आकृति हुन् भन्ने लाग्थ्यो । प्राचीन भौतिक निर्माणका अवशेष हामीकहाँ रुग्ण अवस्थामा उपलब्ध छन् । तर, इजिप्टको प्रसंग बेग्लै रै’छ । ग्रेनाइटको विशाल खानीछेउ लक्सोर ठडिएको रै’छ । त्यहाँका प्राचीन भौतिक पूर्वाधारहरू ग्रेनाइटबाट बनेका रै’छन् । त्यसैले ती आजका मितिसम्म जिउँदोजाग्दो स्वरूपमा उपलब्ध हुन सकेका रै’छन् । त्यहाँका हजारौं वर्ष पुराना पाषाण प्रतिमा, पाषणकै खाँबा र भित्तामा कपिएका अक्षर अथवा आकृति हेर्दा यस्तो लाग्छ, मानौं ती केही वर्षअघि मात्र बनाइएका हुन् ।
लक्सोरको भव्य प्राचीनतालाई सुरक्षित राख्न राज्य र जनताले पनि दिलोज्यान दिएका रै’छन् । मित्रराष्ट्रहरूबाट पनि ठूलै सहयोग मिलेको रै’छ । लक्सोरका प्राचीन बस्ती, उपत्यका, चिहान, भित्तेचित्र आदिको सुरक्षणमा जापानले गरेको सहयोग मलाई अद्वितीय लाग्यो । लक्सोरका ‘भ्याली अफ क्विन्स’ र ‘भ्याली अफ किङ्स’ नाम दिइएका पुरातात्त्विक महत्त्वका दुई साना उपत्यकालाई प्रकृति अथवा मानिसको अतिक्रमणबाट जोगाउन जापान सरकारले ठूलो धनराशि खर्चिएर पूर्वाधार बनाइदिएको रै’छ । मित्रराष्ट्रलाई गरिने मनकारी सहयोगको भव्य नमुना कस्तो हुन्छ भन्ने कुरा जापानले लक्सोरमा पेस गरेको रै’छ ।
पिरामिडदेखि चिहान र ममीसम्म अवलोकन गर्दैगर्दा मैले ‘शासकको इतिहास’ लेख्नेहरूलाई अहोरात्र सराप्ने ‘प्रगतिशीलता’ लाई सम्झिएको थिएँ । वश चल्थ्यो भने ती ‘प्रगतिशील’ हरूले पिरामिड, चिहान र ममीलाई ‘शासकको आततायी विगतका साक्षी’ ठहर गरेर जलाइदिने थिए । त्यसो गर्ने आँट किञ्चित जुटाउन नसके प्रकृतिको गर्तमा क्रमशः बिलाउँदै जाने गरी चरम बेवास्ता गरेर अलपत्र छोडिदिने थिए । उनीहरूका लागि चार हजार वर्षभन्दा पुराना ती अवशेषले शासकको इतिहास मात्र कहन्थ्यो, जुन भुइँमान्छेको इतिहासको चिहानमाथि ठडिएको थियो । भूइँमान्छेको जीवन नियाल्ने आँखीझ्याल पनि आखिरमा यस्तै सामग्रीले न उपलब्ध गराउँछन् भन्ने तथ्य उनीहरूको दृष्टिबाट ओझेल
पर्ने थियो ।


कायरोस्थित म्युजियमको ‘रोयल ममिज हल’ भित्र पारदर्शी सीसाका बाकसमा ममीहरू लमतन्न सुतेका थिए । ममीबारे त्यसअघि सुनेको थिएँ । पढेको थिएँ । ममीहरूले भूत बनेर तर्साएका फिल्म पनि हेरेको थिएँ । तर, आँखैअगाडि हजारौं वर्षअघि मरेको मानिस देख्दा मलाई विचित्रको महसुस भयो । कौतूहल, ज्ञान पिपासा र मसिनो भयमिश्रित अनौठो अनुभूति !
कायरो घुम्नुअघि लक्सोर डुल्दै गर्दा आकाशबाट सूर्यले प्रचण्ड अग्नि बर्साइरहेका थिए । अतिशय गर्मीले गर्दा त्यहाँको हावापानी ओसरहित रै’छ । एकदम सुक्खा । कालो चस्मा नलगाईकन आँखा उघार्नै नसकिने । त्यस्तो वातावरणकै कारण हजारौं वर्षअघि दिवंगत मानिसका ममी लक्सोरको गर्तबाट जिउँदोजाग्दो स्वरूपमा फेला पार्न सकिएका रै’छन् । फेला परेका एकाध ममी विदेशतिर लगिएछन् । बाँकी कायरो ल्याएर संग्रहालयमा राखिएछन् । कायरोको अपेक्षाकृत ओसिलो हावापानीमा ममी नसडोस् भनेर उचित तापक्रमको व्यवस्थापन मिल्ने गरी सीसाका पारदर्शी बाकसमा तिनलाई राखिएका रै’छन् । संग्रहालयको भुइँ तल्लामा केही थान विशाल बाकस थिए, सुनले मोरिएका । बाकस वरिपरि अनेकन चित्र र आकृति कोरिएका, खोपिएका थिए । उत्खननका क्रममा ती बाकसभित्र ममीहरू फेला परेका रै’छन् । राजपरवारका सदस्यहरूको शवलाई ममी बनाएर त्यस्तै खालका किम्ती बाकसमा राख्ने चलन त्यतिबेला रै’छ ।
गाइडले चोर औंलाले देखाउँदै सीसाभित्रका ममीहरूको परिचय दिँदा मलाई फेरि एकपटक अनौठो महसुस भयो । ‘यो फलानो राजा हो, त्यो ढिस्कानो राजा हो, यी राजा फलानो ठाउँको लडाइँमा मारिएका थिए, तीचाहिँ डाइबिटिज लागेर बयोवृद्ध उमेरमा कालगतिले मरेका थिए,’ गाइडको कुरा सुनेर बाँकी सबैझैं म पनि विष्मित नजरले ममीतिर अपलक हेरिरहेको थिएँ ।
कायरो र लक्सोरका टुरिस्ट गाइडलाई अन्ततिरका गाइडलाई झैं केही महिनाको प्रशिक्षण पर्याप्त नहुँदो रै’छ । त्यसैले त्यहाँका गाइडहरूले विश्वविद्यालयबाट इतिहास, मानवशास्त्र, पुरातत्त्वलगायत विषयमा उच्चशिक्षा हासिल गरेका हुँदा रै’छन् । केही महिनाको प्रशिक्षणबाट त्यति सुदूर विगतका पात्र र तिनका जनजीवनबारे अरूलाई ससर्ती जानकारी दिन सक्ने खुबी हासिल गर्न सम्भव पनि त छैन !
ममीहरूसँग हाम्रो परिचय गराउने क्रममा गाइडले अर्को एउटा ममीतिर औँल्याएर भन्यो, ‘ऊ त्यो सीसाभित्रका राजालाई युद्धमा ढिस्कानो देशका लडाकुले झम्पल प्रहार गरेछन् र उनको मृत्यु भएछ । नपत्याए पसांगिएको उनको च्यापु हेर्नुस् त !’
हामी प्राचीन इजिप्टका सबैभन्दा चर्चित राजा रामसेस द्वितीय (इपू १३००) को ममी तेर्सिएको बाकसअगाडि पुग्यौं । उनी इजिप्टको इतिहासका सबैभन्दा चर्चित पात्र रै’छन् । उनको ममीको हाल सालैको इतिहास पनि अत्यन्तै रोचक रहेकाले जनस्तरमा पनि उनी बढ्तै लोकप्रिय रै’छन् ।

औपनिवेशकालतिरै रामसेस द्वितीयको ममी लक्सोरको ‘भ्याली अफ किङ्स’ मा फेला परेको थियो । त्यहाँबाट ल्याएर कायरोको संग्रहालयमा त्यसलाई सुरक्षित राखिएको रै’छ । रामसेस द्वितीयले लक्सोरमा बसेर झन्डै ६५ वर्ष शासन गरेका रै’छन् । जीवित छँदै उनले आफ्ना प्रशस्तै मूर्तिहरू बनाएका रै’छन्, जुन हालको इजिप्ट र प्राचीन समयमा इजिप्टको सीमा अथवा प्रभावअन्तर्गत रहेका प्यालेस्टाइनदेखि सुडानसम्मका भूभागमा यत्रतत्र फेला परेका छन् । तीमध्ये केही मूर्ति कायरोका संग्रहालयमा प्रदर्शनार्थ राखिएका छन् । केही मूर्ति लक्सोरमा यथावत् स्थानमै संरक्षित छन् । उनको शासनकालमा इजिप्टमा ठूल्ठूला भवनलगायत पूर्वाधार निर्माण भएका रै’छन्, जुन जिउँदोजाग्दो रूपमा आजका मितिसम्म ठडिएको हेर्न सकिन्छ । इजिप्टको र छेउछाउका अन्य समुदायको इतिहासमा उनका प्रसंग र उनीसम्बन्धी किंवदन्ती बर्गेल्ती पाइँदा रै’छन् । उनको पालामा इजिप्ट कैयौं युद्धमा होमिएको पनि रै’छ । भौतिक निर्माणदेखि अनेकन युद्धसम्ममा होमिएर ६५ वर्ष शासन गरी करिब ९० वर्षको उमेरमा उनी दिवंगत भएका रै’छन् ।
रामसेस द्वितीय वयोवृद्ध उमेरमा कालगतिले मरेका थिए भनि गाइडले भनिरहँदा म सिसाभित्र लमतन्न सुतेको खिरिलो बयोवृद्ध मानिसको शवलाई विष्मयका साथ हेरिरहेको थिएँ । लक्सोरलगायत ठाउँमा उपलब्ध उनका प्राचीन प्रतिमा र बजारमा बिक्रीका लागि राखिएका तिनका नक्कलमा उनलाई बलिष्ठ ज्यान भएको व्यक्तिको रूपमा चित्रण गरिएको पाइन्छ । तर, जतिसुकै बलिष्ठ शरीरले पनि समयको वेगले गर्ने निरन्तर प्रहारलाई थेग्न कहाँ सक्दो रहेछ ! उनको ममी हेर्दै गर्दा मैले समयको सर्वसत्तावादलाई पुनः एकपटक गहिरोसँग महसुस गरेँ । टाउको, काँध र कम्मरको टेकोमा उनको शरीर अडिएको थियो । बुढ्यौलीले चाउरिएका उनको छाला हड्डीमा बेस्कन टाँसिएका थिए । खबटे गाला प्रस्टसँग देखिन्थे । एउटा नाडी अर्कोमाथि खप्टिएर छातीमाथि तेर्सिएको थियो । शरीरको मध्यभाग त्यतिबेलैको सुतिको सेतो कपडाले मोरिएको थियो । बुढ्यौलीका कारण निधारमास्तिरको कपाल झरेर अर्धखल्वाट भएको थियो । कन्सिरीमाथि र पछाडिपट्टिका कपाल छोटा, मसिना थिए । कुनै समय संसारलाई आफ्नो इसारामा नचाउन सक्ने शक्तिशाली शासक आज मेरो अगाडि निरीह बनेर पल्टिएको थियो । मेरा आँखाले उसलाई ओल्टाईपल्टाई हेरिरहेका थिए ।
मृत्यु भएको करिब ३३ सय वर्षपछि उनको ममी एउटा रोचक क्षणको साक्षी बनेको कुरा हामीलाई गाइडले सुनाए । होटल फर्किएर गाइडको कुरा साँचो हो/होइन भनी इन्टरनेटमा त्यतिबेलाका पत्रपत्रिका हेर्दा सबै विवरण साँचो भेटियो ।
सन् १९७४ तिर संग्रहालयमा राखिएको उनको ममी फंगस, ब्याक्टेरियालगायतको संक्रमणले बिग्रिँदै गएको थाहा भएछ । त्यति सुदूर विगतको साक्षीलाई नष्ट हुन दिन कोही तयार भएनन् । रामसेस द्वितीयको शरीरको ‘उपचार’ गर्नुपर्ने निधो गरियो । त्यतिबेला इजिप्टमा राष्ट्रपति अनवर सदातको प्रशासन थियो । कायरोमा उनको ‘उपचार’ गर्न सक्ने योग्य जनशक्ति र प्रविधि उपलब्ध भएन । कहाँ लगेर उपचार गर्ने भनी छलफल हुँदा पेरिसमा प्रभावकारी उपचार हुन सक्ने निधो भयो । यसमा राष्ट्रपति सदातको पनि सम्मति जुट्यो ।
ममीलाई पेरिस लैजाने सबै चाँजोपाँजो मिलिसकेपछि एउटा कानुनी झन्झट आइलाग्यो । विदेशबाट आउने शवको राष्ट्रियतासहित पूर्ण परिचय खुल्ने प्रामाणिक दस्तावेज फ्रान्सको अध्यागमन कार्यलयले अनिवार्य माग्दो रै’छ । ३३ सय वर्षअघि दिवंगत भएका रामसेस द्वितीयको शवको हकमा पनि त्यही कानुन आकर्षित हुने भयो । त्यसको हल खोजियो । इजिप्ट सरकारले उनको परिचय खुल्ने गरी राहदानी जारी गर्‍यो ।
नाम– रामसेस द्वितीय
जन्म– १३०३ इसापूर्व
राष्ट्रियता– इजिप्सियन
लिंग– पुरुष
पेसा– राजा
राहदानी नं– ए१७७५८०२४ आदि ।

राहदानीमा दुइटै कान देखिने गरी खिचिएको ममीको अर्धकदको फोटो टाँसियो । राहदानीसहित रामसेस द्वितीय र उनका इजिप्सियन ‘सहयोगी’ हरूलाई बोकेर फ्रेन्च सेनाको विमान कायरोबाट उड्यो । पेरिसमा विमान अवतरण हुँदा रामसेस द्वितीयलाई इजिप्टका दिवंगत पूर्वराष्ट्रप्रमुख मानेर फ्रान्सले राजकीय व्यवहार गर्‍यो । उनको ममीलाई ‘रिसिभ’ गर्न फ्रेन्च राजप्रतिनिधि विमानस्थल पुगे । राजकीय ध्वनिसहित फ्रेन्स सेनाले ममीको सम्मानमा सलामी अर्पण गर्‍यो । त्यहाँबाट पेरिसको संग्रहालय लगेर ममीको ‘उपचार’ गरियो । उपचारपछि कायरो फर्काइयो ।
उपचारमा संलग्न फ्रान्सका एक जना चिकित्सकले कसैलाई पत्तै नदिई रामसेस द्वितीयका केही कपाल चुँडेर लुकाएका रै’छन् । ममी कायरो फर्किएको दशकौंपछि उनको कपाल चोरी भएको तथ्य सार्वजनिक भयो । फ्रान्स सरकारले चोरीमा संलग्न दोषीलाई पक्रेर कानुनी कारबाही अघि बढायो । बरामद गरिएका कपाल इजिप्ट सरकारको जिम्मा लगाइयो । सानो पारदर्शी प्लास्टिकको थैलीमा राखिएका कपालका ती त्यान्द्रा रामसेस द्वितीयको ममीछेउ राखिएको छ, जुन कायरो जाने जोकसैले देख्न सक्छ ।

प्राचीन इजिप्टलगायत अन्य केही ठाउँका मानिसले पनि ममी बनाएर शवलाई सुरक्षित राख्ने गर्थे । त्यस्तो किन गरिन्थ्यो होला भन्नेबारे अनेकन अनुमान र व्याख्या/विश्लेषण उपलब्ध होलान् । यसबारे चिन्तन गर्दै गर्दा मैले मृत्युलाई लिएर हाम्रोतिर प्रचलित परम्परागत अभ्यास र व्याख्यानलाई ममीकै आलोकमा हेरेर आफ्नै खालको धारणा बनाएको छु ।

म्युजियममा गाइडले एउटा ममीप्रति औँल्याउँदै भनेको थियो, ‘यो ममीका आँखीभौं हेर्नुस् त, कालो रङ पोतिएको छ । मर्ने बेलामा उसका आँखीभौं झरेका थिए । अर्को जन्ममा उसले आँखीभौंरहित हुन नपरोस् भनेर निधनपछि आफन्तले कालो रङ पोतिदिएका हुन् ।’ मर्ने बेलामा शरीर अपूर्ण छ भने अर्को जन्ममा पनि त्यस्तै अपूर्ण शरीरसहित जन्म हुन्छ भन्ने विश्वासको अवशेष थुप्रै संस्कृतिमा झल्किएको हामी पाउन सक्छौं । प्राचीनकालको चीनलगायत ठाउँमा अण्डकोश झिकेर नपुंसक तुल्याइने व्यक्तिहरूले मरणोपरान्त अण्डकोश साथमा राख्ने गरेको चलनलाई उदाहरणका रूपमा लिन सकिन्छ ।
सभ्यताको सिँडी चढ्नुअघिको जंगली युगमा मृत्युलाई बुझ्न मानिसहरूलाई पक्कै अप्ठेरो भयो होला । एक छिनअघि हलचल गरिरहेको मानिस अकस्मात हलचल गर्न छोड्नुलाई मृत्युका रूपमा अर्थ्याउन थालियो होला । शरीरमा रहेको कुनै तत्त्व (आत्मा) बाहिरिएपछि मानिस मर्दो रहेछ भन्ने महसुस गरेर आत्मा पुनः शरीरमा प्रवेश गर्ने क्षण पर्खिँदै आफन्तहरू बसे होलान् । शव कुहिएर गन्हाउन थालेपछि अन्तै हिँडे होलान् । आत्मा कदाचित शरीर खोज्दै फर्किने पो हो कि भन्ने झिनो आस सँगै लिएर गए होलान् । त्यस्तै आस प्रकारान्तरमा विश्वासमा परिणत भयो । सम्भवतः त्यस्तै आसको उपज थियो, शरीरलाई ममी बनाएर सुरक्षित राखी चिरञ्जीवी बन्ने सम्भावना खुलै राख्ने प्राचीन इजिप्सियनहरूको संस्कार । अमरत्वको चाहना नराख्ने नश्वर प्राणी आखिरमा को नै होला !
मृत्युसम्बन्धी यस्तोखालको आदिम विश्वासको अवशेष नेपाली संस्कृतिमा पनि भेट्टाउन सकिन्छ । योगेश राजको किताब ‘हिन्दु नेवारहरूको मृत्युचेतना’ मा उपलब्ध अनेक प्रसंगले पनि त्यसतर्फ संकेत गर्छन् । किताबमा एक ठाउँ लेखिएको छ, ‘स्मार्त सम्प्रदायकाहरूले लासलाई घरको चुलोछेउ राख्छन् । आहिताग्निहरू लासलाई यज्ञशालामा लगेर राख्छन् । प्राग्एतिहासिक समयमा भारतीय उपमहाद्वीपभरि मृतकलाई उसको घरमा चुलोछेउ गाड्ने चलन थियो । सिन्धुसभ्यतामा भने बस्तीको दक्षिणी प्रदेशमा लास वा अस्थि गाडिन्थ्यो ।’ मानिसको मृत्युपछि शवलाई घर अथवा वरिपरिको चिरपरिचित ठाउँमा समाधिस्त गर्ने चलन कुनै बेला थियो भन्ने प्रमाण यसबाट मिल्छ । उडेर गएको आत्मा कदाचित फर्किएमा आफ्नो शरीर भेट्टाउन उसलाई गाह्रो नपरोस् भनेर त्यस्तो चलन चलाइएको हो । शव दहन गर्ने हिन्दु संस्कार यस्तै मान्यताको परिस्कृत रूप हो । शरीरप्रतिको मोहका कारण भौंतारिने आत्मालाई निर्धो तुल्याएर अर्को योनीमा प्रवेश गराउन प्रेरित गर्ने उद्देश्यले शव दहनको संस्कार हिन्दु धर्मले ग्रहण गरेको हो । संन्यासीहरूको आत्मा शरीरसहित सबैखालका मोहबाट निस्पृयः हुन्छन् भन्ने ठानेर उनीहरूको शवलाई चाहिँ ध्यानमुद्रामा समाधिस्त गर्ने गरिएको हो ।
किरातीहरूको मृत्युसंस्कारमा पनि यस्तो खालको आदिम विश्वासको अवशेष पाइन्छ । भोगीराज चाम्लिङको लेख ‘किरात राई जातिमा मृत्यु संस्कार र चिन्तन’ मा उपलब्ध विवरणानुसार, नक्मई (सहज मरण) बेहोर्ने आत्मालाई किरात राईहरूले पितृ कुलमा राख्ने गर्छन् । कुलुक र खालिङ राईले त्यस्तो मरण बेहोर्नेलाई घरकै वरिपरि गाड्छन् र तीन महिनासम्म चिहान पाल्छन् (चिहानमा खाने कुरा राखिदिन्छन्) ।
पीडादायी अथवा विद्रूप किसिमले हुने अकालको मरणलाई चाहिँ अधिकांश संस्कृतिले अनिच्छुक, अमांगलिक ठहर गर्छन् । त्यस्तो मरण बेहोरेको आत्माले आफ्नो शरीर फेला पार्न नसकोस् भनेर शवलाई घरबाट टाढै समाधिस्त गरिन्छ । किरात राईकै प्रसंग लिऔं । असहज (दुर्घटना, आत्महत्या, सुत्केरी व्यथा आदि) मरणलाई किरात राईहरू झेत्मई भन्छन् । चाम्लिङका अनुसार, त्यस्तो मरण बेहोर्नेलाई कुलुङ र खालिङ राईहरूले जंगलमा लगेर समाधिस्त गर्छन् । त्यस्ता आत्मालाई पितृकुलमा पनि राख्दैनन् । चिहान पनि पाल्दैनन् । अप्राकृतिक रूपमा अकालमै ज्यान गुमाएर जीवन भोग्नबाट वञ्चित भएकाहरू भूतप्रेत बन्छन् र भड्किन्छन् भन्ने विश्वास अधिकांश समाजमा छ । हिन्दु धर्मावलम्बीहरूले मृतक व्यक्तिको आत्मा १० दिनसम्म अर्थात् ढिकुर नफोरुन्जेल घरवरिपरि भौंतारिरहन्छ भनी गरेको विश्वासलाई पनि यही प्रसंगमा उल्लेख गर्नु उपयुक्त हुन्छ ।
दुर्घटनामा परेर मृत्युवरण गरेको शरीरमा पुनः आत्मा प्रवेश गरे त्यसले क्षतविक्षत अवस्थाको विद्रूप शरीर हासिल गर्छ, मृत शरीरमा आत्मा पुनर्प्रवेश गर्न सक्छ भन्ने विश्वासकै कारण कायरोको संग्रहालयमा राखिएको एउटा ममीको आँखीभौंमा कालो पोतिएको हो भन्ने मेरो अनुमान छ ।

इजिप्टमा रहँदा मैले प्राइम मिनिस्टर जंगबहादुर राणालाई पनि सम्झिएको थिएँ । उनी इजिप्ट पुग्ने पहिलो नेपाली राजप्रतिनिधि हुन् । बेलायतको भ्रमण गर्न उनी इजिप्ट हुँदै गुज्रिएका थिए । उनीभन्दा अगाडि मोतिलाल सिंह नाम गरेका एक जना नेपाली बेलायत पुगेका थिए भन्ने तथ्य पछिल्लो अनुसन्धानबाट पुष्टि भइसकेको छ । जंगबहादुर हिँडेकै जलमार्ग हुँदै मोतीलाल सिंह पनि बेलायततिर गए होलान् भनी अनुमान गर्न सकिन्छ । त्यसैले इजिप्ट टेक्ने पहिलो नेपाली मोतीलाल सिंहलाई नै मान्न सकिन्छ । यद्यपि यसलाई पुष्टि गर्ने एतिहासिक विवरण उपलब्ध छैन । जंगबहादुरको इजिप्ट भ्रमणसम्बन्धी विवरणहरूचाहिँ उपलब्ध छन् ।
भारतको मद्रासछेउको बन्दरगाहबाट पानीजहाज चढेर जंगबहादुर बेलायततिर हिँडेका थिए । मद्रासबाट श्रीलंका हुँदै इडेन द्वीप (पश्चिम एसिया) पार गरेर उनी इजिप्ट पुगे । यात्राको विवरण जंगबहादुरको भ्रमण दलमा सम्मिलित एक जना अज्ञात व्यक्तिले लेखेका छन् । ती व्यक्तिले लेखेको यात्रा विवरण कमल दीक्षितको सम्पादनमा छापिएको ‘जंगबहादुरको बेलायत यात्रा’ शीर्षकको किताबमा उपलब्ध छ । यात्रा विवरणमा लेखिएको छ, ‘ताहांदेखि (इडेन टापुदेखि) आठ दिनमा सुइज (स्वेज) बादशाहको मुलुकमा पुगियो । त्यस जग्गामा जाहाज फिरदो रहेछ... त्यस जग्गामा... अंग्रेजले तीन लाख रूपैयाँ दी त्यो ३० कोस जमीनमा ६।६ घोडा लाग्याको बग्गी...राख्याका छन् ।’ जंगबहादुरले पानीजाहाजबाट ओर्लिएर सोही बग्गी चढी दलबलसहित अलखजंजरिनदी (एलेक्जेन्ड्रिया) पुगेर इजिप्टका तत्कालीन बादशाहसँग भेट गरेका रै’छन् । यात्रा विवरणमा एलेक्जेन्ड्रियाको वर्णन गरिएको छ, ‘मुसलमानदेखि अर्को जात छैन । मानिस राम्रा राम्रा छन् । जनाना (स्त्री) हरू मुख कपडाले छोपी हिंड्दछन् । त्यस जग्गामा भाजी, तरकारी, फलफूल, गहुको खेती गर्न्या समर्थ जग्गा छ । हाट, दोकान, बहुत गुलजार सहर छ ।’ जंगबहादुरले इजिप्टका बादशाहलाई एलेक्जेन्ड्रियाको प्रख्यात किल्लामा भेटेका रै’छन्, जुन अहिले काइटबे सिटडेलको नामले प्रख्यात छ ।’ त्यस दुर्गको चर्चा गर्दै यात्राविवरणमा लेखिएको छ, ‘पर्खाल मजबुत जग्गा रहेछ । ताहांका बादसाहाले श्री प्राइम मिनिष्टरलाई मुलाकात गरी बहुत खातिर गर्‍या ।’ जंगबहादुरले अवलोकन गरेको सोही किल्ला पुगेर मैले पनि त्यसका दरिला पर्खाल छामेको थिएँ । जंगबहादुरले अवलोकन गरेको केही दशकपछि ब्रिटिसहरूले हमला गरेर त्यस किल्लालाई जीर्ण तुल्याइदिएका थिए । मर्मत–सम्भारपछि किल्लालाई अहिले संग्रहालय
बनाइएको छ ।
एलेक्जेन्ड्रियाबाट म कायरो फर्किएँ । त्यसपछि मात्रै गिजा पुगेर पिरामिड र कायरो पुगेर ममी हेरेँ । पिरामिड र ममी हेर्दै गर्दा मैले आफूलाई जंगबहादुरसँग तुलना गरेँ । जंगबहादुर एलेक्जेन्ड्रियाबाट भूमध्यसागर हुँदै बेलायततिर फर्किए । मैलेजस्तै उनले गिजा, कायरो अथवा लक्सोर घुमेनन् । पिरामिड, ममी, प्राचीन आलिशान महल, मूर्ति, चिहान आदि हेर्नबाट पनि वञ्चित भए । त्यस्ता ‘किम्ती’ अवशेष हेर्न नपाएका जंगबहादुरलाई अभागी ठान्न नसके पनि मैले आफूलाई चाहिँ झाग्यमानी ठानेँ ।

Page 18
कोसेली

२५ सय वर्षअघिको आक्रोश

- रामचन्द्र श्रेष्ठ

महिलाको स्वाधीनतामाथि हस्तक्षेप गर्ने जनपदलाई जति छिटो रगतमा डुबाइदिन सकिन्छ उत्ति नै बेस हुन्छ– यो २५ सय वर्षअघिको आक्रोश हो । जब आफूलाई जबरजस्ती नगरवधू बनाइन थालिएको थियो, अम्बपालीले यसरी आक्रोश व्यक्त गरेकी थिइन् । यो आक्रोश केवल मनमा कैद भएर बसेन । समयका अनेक उपक्रममा यो निस्तेज पनि भएन । आफ्ना सपनाको हत्या गरेर परम्परा र कानुनको आडमा नगरवधू बनाइएपछि अम्बपालीले वैशालीको पतनका लागि कुनै कसर बाँकी राखिनन् ।
उसो त अम्बपालीलाई वैशालीका गणपति सुनन्दले सम्झाएका हुन्छन्, ‘सार्वजनिक हितका लागि व्यक्तिगत इच्छा तिलाञ्जली दिनुपर्छ ।’ सिंगो वैशाली अम्बपालीलाई नगरवधू बनाउने मुद्दामा विभाजित थियो । उनको अस्वीकृतिले वज्जीसंघको एकता नै संकटमा पर्थ्यो । त्यसैले सुनन्दले ‘व्यक्तिगत इच्छा’ को बलिदानी माग्छन् ।
२५ सय वर्षपछि डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुख बन्नबाट रोक्न यस्तै–यस्तै तर्कहरू गरिएको थियो । पार्टीको एकता वा पार्टीको हितका लागि उनको योग्यताको बलिदान मागियो । र, फेरि पनि शिवमाया सार्वजनिक हितका लागि व्यक्तिगत इच्छा र सामर्थ्यको बलिदानी गर्न विवश पारिइन् । राजीनामा गर्दै गर्दा शिवमायाले कटु यथार्थ ओकलिन्— राज्यसत्ता भन्दा पितृसत्ता बलियो रहेछ । आखिर इतिहास दोहोरिनेरहेछ, फरक–फरक आवरणमा । उसो त हाम्रा वर्तमान कर्म र चिन्तनहरूले निकटदेखि सुदूर इतिहाससँग साइनो राख्छन् ।
प्रतिगमनविरोधी आन्दोलनको अन्त्यतिर राजनीतिका विविध आयाम बुझ्ने भोक चर्को थियो । भोक मेट्न अनेकन किताब पढिन्थ्यो । यसै क्रममा हात लागेको थियो आचार्य चतुरसेनको उपन्यास– ‘वैशालीकी नगरवधू ।’ तर, यो पढ्नु उति सजिलो थिएन । हिन्दी भाषा, त्यो पनि संस्कृत शब्दावलीले भरिपूर्ण । मोटाइ पनि उस्तै । लगभग तीन महिना घोटिएपछि उपन्यासको स्वाद महसुस भएको थियो । पछि चतुरसेनका कथाहरू पढ्न थालेपछि ‘वैशालीकी नगरवधू’ झनै सुस्वादिलो बन्दै गयो । जिन्दगीमा अक्सर यस्तै हुन्छ । पहिलो गाँसमा औधी स्वादिला लागेका वस्तुहरू बिस्तारै अरुचिमा बदलिन्छन् र घृणा गरिएका क्रमशः स्वादिला हुन्छन् । कैयौं मान्छे प्रिय ठान्दाठान्दै पराई भइसकेका हुन्छन् । कैयौं पराई थाहै नपाई आफन्त बन्छन् । जिन्दगी बेलाबेलामा रहस्यको ठूलो पोकोझैं लाग्छ । तर, रहस्यको ठूलो पोको त अम्बपालीको जन्म नै हो ।

‘धिक्कृत कानुन’
‘वैशालीकी नगरवधू’ बुद्धको समयको कथा हो । उत्तर भारतमा केही बलिया राज्यहरू स्थापित भइसकेका हुन्छन् । त्यसमध्ये एउटा हो– वज्जी संघ । यो विदेह राज्य फुटेर बनेका लिच्छवी संघहरूको राज्य हो । वज्जीअन्तर्गत आठ कुल संग्लग्न छन् । वज्जी संघ गणतन्त्रात्मक राज्य हो, जहाँ राजाको पनि निर्वाचन हुन्छ । सभाले गर्ने निर्णय सर्वोपरि हुन्छ । तर, त्यस्तो सभा वा राज्यसंयन्त्रमा सबै जाति र वर्गको पहुँच छैन । सामन्त, व्यापारीलगायतका कुलीनहरूको मात्रै पहुँच छ । वैशाली वज्जी संघको राजधानी हो । वैशालीमा एउटा अचम्मको कानुन छ— नगरको सबैभन्दा सुन्दर युवती कोही एक जनाको श्रीमती हुन पाउँदैन । सुन्दर युवतीलाई बिहे गरेर गृहस्थी जीवन बिताउने अधिकार छैन । उसलाई नगरवधू बनाइन्छ ।
दरबारको उपवनको रेखदेख गर्ने नायक महानामनले आँपको रूख (आम्रवृक्ष) मुनि एउटी सुन्दरी बालिका भेट्टाउँछ । सन्तानविहीन महानामन दम्पतीले त्यो बालिकालाई सन्तानको रूपमा अपनाउँछन् । आम्रवृक्षमुनि फेला परेको हुनाले नाम अम्बपाली (आम्रपालीको अप्रभंस) राखिन्छ । बालिका अति सुन्दर हुन्छे तर त्यही सुन्दरता नै उसको भविष्यको तगारो भएको हुन्छ । बालिका हुर्कंदै गएपछि नगरवधू बनाइन सकिने सम्भावनासँग डराएर महानामन दरबार छोडेर गाउँमा जान्छ । अम्बपाली ११ वर्ष पुग्दा उसकी आमाको निधन भइसकेको हुन्छ । महानामन वृद्ध र गरिब हुन्छ । गरिबीका कारण अम्बपालीका रहर पूरा गर्न नसक्ने भएपछि महानामन पुनः वैशाली फर्किन बाध्य हुन्छ । वैशालीमा उसको भेट साथी चन्द्रदेवको छोरा हर्षदेवसँग हुन्छ । उसले पुनः राजप्रासाद सेवामा अवसर पाउँछ ।
महानामनलाई जे डर थियो, त्यही भइछाड्छ । अम्बपालीलाई नगरवधू बनाइन्छ । अम्बपाली भर्खर–भर्खर हर्षदेवसँग प्रेममा परेकी थिई । उसका गृहस्थी जीवनका सपनामा पालुवा लाग्दै थिए । जबरजस्ती नगरवधू बनाइने भएपछि ऊ औधी आक्रोशित हुन्छे । सभा बस्छ । सभामा ९०२ जना सदस्य हुन्छन् । सामन्तपुत्र, व्यापारीलगायतका युवा भारदार हुन्छन् । उनीहरू बहस गरिरहेका हुन्छन् । लिच्छवीको कानुनको पालना गराउन उत्तेजित देखिन्छन् । छिन–छिनमा खुँडा र तरबार प्रदर्शन हुन्छ । माहोल उत्तेजित हुन्छ । यसैबीचमा महानामनको प्रवेश हुन्छ । उसलाई एक्लै देखेर सभा क्रोधित हुन्छ । तर, श्वेत परिधानमा अम्बपालीको प्रवेश हुन्छ । ऊ सभालाई सम्बोधन गर्छे र भन्छे, ‘यो तिमीहरूको धिक्कृत कानुन हो ।’ व्यापारको केन्द्र भएकाले वज्जी संघ समृद्ध हुन्छ । समृद्धि र शक्तिको केन्द्र वैशालीलाई कसैले पनि कुनै आक्षेप लगाउन सकेको हुँदैन । तर, समंद्ध गणराज्यको कानुनलाई एउटी अबला नारीले ‘धिक्कृत कानुन’ को उपमा दिन्छे । सभाको निन्दा गर्छे । खडा र तरबार फेरि चम्किन्छन् । तर, अम्बपालीले अडान कायम नै राख्छे । ‘नगरवधू’ को प्रावधानलाई उसले वज्जी संघको गौरवमा कलंक भएको बताउँछे । के प्रकृतिप्रदत्त सुन्दरता नै आफ्नो अपराध हो भन्ने सीधा तर कठिन प्रश्न तेर्स्याउँछे ।
आखिरमा तीनवटा सर्तमा मात्र नगरवधू बन्न तयार हुने बताउँछे । ऊ मृत्यु स्विकार्न तयार छे तर आफ्ना सर्तमा सम्झौता गर्न तयार छैन । ती तीन सर्त हुन्छन्— पहिलो, राजालाई बराबर दरबार, सम्पत्ति, मुद्रा र सुविधा प्राप्त होस् । दोस्रो, उसको महलको सुरक्षा कुनै किल्लाको जस्तो होस् । अर्थात्, उसको बेग्लै सेना होस् । तेस्रो, उसको आवासमा आवतजावत गर्ने अतिथिहरूको कुनै जाँच गरिनेछैन ।
सभाले तेस्रो सर्तमा कुनै कारणले जाँचपड्ताल गर्नुपरेमा एक साताअगाडि नै खबर गर्ने संशोधन गर्दै सबै सर्त स्वीकार गर्छ । सिंगो राज्यलाई आफ्ना सर्तहरूको बलमा दबाएर अम्बपाली नगरवधू बन्छे ।

रहस्यहरू
राजनीति अनेक दृृश्य, अदृश्य खेल र समीकरणहरूले सञ्चालित हुन्छ । यिनै उपक्रममा राजनीतिले अनेकौं रहस्य सिर्जना गर्छ । मदन भण्डारीदेखि नारायणहिटी हत्याकाण्ड हाम्रा निकट इतिहासका रहस्य हुन् । उसो त निर्वाचनका परिणामहरू पनि कम रहस्यपूर्ण हुँदैनन् । ‘वैशालीकी नगरवधू’ राजनीतिमा सिर्जित हुने घात–प्रतिघात र अनेकौं रहस्यले भरिपूर्ण छ ।
वज्जीसँग टक्कर लिने समृद्ध राज्य छ मगध, जहाँका राजा छन्— बिम्बसार । बिम्बसारका पिताको समयमा त्यहाँ गोविन्द स्वामी नामक वेदपाठी ब्राह्मण थिए । उनले एक दिन सम्राट्लाई एक बालिका दिँदै उसको पालनपोषणको जिम्मा लिन आग्रह गरे । सम्राट्ले उक्त आग्रह स्वीकार गर्दै छोरा बिम्बसारसरह उनलाई छोरीको रूपमा पालनपोषण गर्ने वचन दिए । बालिकाको नाम मातंगी राखियो । गोविन्द स्वामीसँग अर्का एक शिष्य बालक पनि थिए, जसको नाम वर्षकार थियो । उनी कसका सन्तान हुन्, थाहा थिएन । बच्चा एघार वर्ष पुगेपछि गोविन्द स्वामीले सम्राट्लाई सुम्पिँदै राम्ररी शिक्षा–दीक्षा दिएर हुर्काउन र पछि महामात्य (महामन्त्री) बनाउन भन्छन् । स्वामीले कुनै पनि कारणले वर्षकार र मातंगीको बिहे नगराउनू भनेका हुन्छन् । तर, हुर्कंदै जाँदा वर्षकार र युवराज बिम्बसार दुवै मातंगीप्रति आकर्षित हुन्छन् । यस विषयमा उनीहरूको झगडा पनि हुन्छ । तर, लुकीछिपी मातंगीलाई भेट्न दुवैले छोड्दैनन् । यसैबीचमा मातंगी गर्भवती हुन्छिन् । त्यो गर्भ वर्षकार र बिम्बसारमा कसको हो भन्ने रहस्य मातंगीले खोल्दिनन् । बच्चा जन्मिएपछि वर्षकारले दासीमार्फत उक्त शिशु फाल्न लगाउँछ । फ्याँकिएको शिशुलाई महावैज्ञानिक सिद्ध शाम्बव्य काश्यपले भेट्टाउँछन् र पालनपोषण गर्छन् । उक्त शिशु पछि सोमप्रभको नामले परिचित हुन्छ । सोम तक्षशिलाबाट ज्ञान प्राप्त वीर, साहसी र कुशाग्र बुद्धिको हुन्छ । सम्राट्को निधनपछि बिम्बसार राजा हुन्छन् । मृत्युअगाडि उनले बिम्बसार र वर्षकारलाई सम्राट् र महामात्य बन्न आदेश दिन्छन् । एउटा गोप्य पत्र दिँदै बिम्बसारको राज्यारोहणको तीन वर्षपछि खोल्नू र त्यति नै बेला मातंगीको बिहे गर्नू भनी लेखेका हुन्छन् । पछि पत्र खोलिँदा रहस्य बाहिर आउँछ । त्यसमा लेखिएको हुन्छ– मातंगी वर्षकारकी बहिनी भएकाले बिहे हुँदैन ।
पत्र खोल्ने समयमा मातंगी फेरि गर्भवती हुन्छिन् । उनलाई वैशाली पठाइएको हुन्छ । उतै उनले गोप्य रूपमा एक कन्यालाई जन्म दिन्छिन् र स्वास्थ्यलाभ गरेर फर्किन्छिन् । कन्या वर्षकारको हुन्छ । जब पत्रले मातंगी र वर्षकारको सम्बन्धको रहस्य खोल्छ, उनी निकै निराश हुन्छिन् र राजसुविधा त्यागेर तपस्विनी बन्छिन् । पछि उनी आर्य मातंगीको नामले प्रसिद्ध हुन्छिन् ।

बदला
अम्बपालीमा केन्द्रित भए पनि ‘वैशालीकी नगरवधू’ अनेकौं उपकथामा उनिएको छ । तत्कालीन उत्तर–भारतको समग्र राजनीति यसमा प्रतिविम्बित छ । तत्कालीन राजनीतिको केन्द्रमा आर्यहरू छन् । आर्यहरूले राजनीतिमा हिंसालाई प्रशस्त स्थान दिएका छन् । राजनीतिमा शक्ति संघर्षमा अपनाइने अनेकौं दाउपेचले कथा भरिएको छ । आचार्यपाद काश्यपले कुण्डनी नामक सुन्दरीलाई विषकन्याको रूपमा हुर्काएका छन् । चम्पा आक्रमण–क्रममा मगध महामात्य वर्षकारको पक्षमा कुण्डनीलाई प्रयोग गरिन्छ । चम्पा जाने बेलामा सोमप्रभ र कुण्डनी असुरहरूको कब्जामा पर्छन् । तर, कुण्डनीले आफ्नो सुन्दरता र विषको बलमा असुरहरूको हत्या गर्छे । आचार्य वर्षकार रत्न व्यापारीको भेषमा चम्पामा घुस्छ । कुण्डनी उसको पुत्री बनेर राजाको दरबारमा छिर्छे । त्यहाँ पनि विषको बलमा राजाको हत्या गर्न सफल हुन्छे । आर्य राजनीति कुटिलता, हत्या र हिंसाले लतपतिएको हुन्छ । तथापि युद्धलाई जायज नै ठहर्‍याइन्छ ।
युद्धलाई वैधानस्करण गर्ने प्रयत्नमा एक प्रसंगमा आचार्य शाम्बव्य भन्छन्, ‘युद्ध जीवनको अपरिहार्य घटना हो । युद्ध मानव सभ्यताको इतिहास हो ।’
अर्को एउटा बलशाली राज्य छ— कोसल । कोसलका राजा प्रसेनजित अति नै यौनपिपासु हुन्छन् । उनले कपिलवस्तुका शाक्यसँग वैवाहिक सम्बन्ध गाँसेका हुन्छन् । शाक्यहरूले छल गरेर दासीसँग बिहे गराइदिएका हुन्छन्, जसबाट विदुडभको जन्म हुन्छ । आफू दासीपुत्र भएको ज्ञात भएपछि विदुडभ आक्रोशित हुन्छ । किनभने ऊजस्ता वर्णसंकरलाई राज्यसत्तामा ठाउँ हुँदैन । त्यसैले ऊ शाक्य कुल नास गर्न उद्यत हुन्छ । ऊ आर्यहरूमाथि बदला लिने मनसायमा हुन्छ । प्रसेनजितसँगको बहसमा विदुडभ भन्छ, ‘आर्यहरूले घृणा गर्ने दासीपुत्र, वर्णसंकरहरूलाई हामी सार्वजनिक गराउनेछौं । हामी आर्यहरूको सम्पूर्ण अधिकार, सबै राज्य र सबै सत्ता खोस्नेछौं ।’
आचार्य चतुरसेनले विदुडभमार्फत आर्यको विरोधमा वर्णसंकर र दासहरूको पक्ष लिएका छन् । ‘वैशालीकी नगरवधू’ आर्य साहित्यको गह्रौं भारीले थिचिएर अव्यक्त रहेका वर्णसंकर र दासहरूको पक्षमा लेखिएको साहित्य हो । सन् १९४९ मा उपन्यासको भूमिकामा आचार्य चतुरसेनले इतिहासकारहरूले नदेखेको तर मिश्रित जातिले आर्यको धर्म, साहित्य, राजसत्ता र संस्कृतिमाथि विजय प्राप्त गरेको प्रगतिशील संस्कृति उजागर गरेको स्विकारेका छन् ।
प्रसेनजितको सुरक्षा दिएका हुन्छन्— वीर बन्धुलले । लामो संघर्षपछि सोमप्रभले बन्धुलको हत्या गरेर विदुडभलाई राजा बनाउँछ ।
अम्बपालीको प्रथम प्रेमी हर्षदेव व्यापारीको भेषमा चर्चित हुन्छ । उसले वैशालीमाथि बदला लिने प्रण गरेको हुन्छ । उसले मगध सम्राट् बिम्बसार र अम्बपालीको भेट गराउँछ । अम्बपाली मगधको भावी सम्राट्की माता बन्ने सर्तमा बिम्बसारसँग प्रणयसम्बन्ध राख्न मञ्जुर हुन्छिन् ।
मगधले वैशालीमाथि आक्रमण गर्छ । आक्रमणको प्रतिरोधका लागि पूरा तयारी गरेर बसेको हुन्छ वैशाली । तर, वैशालीभित्रैबाट मगधलाई सहयोग मिलिरहेको हुन्छ । अम्बपालीको आवासगृहले गुप्त रूपमा मगधलाई सहयोग गर्छ । मगधको सैन्य नेतृत्व आर्य मातंगीका पुत्र सोमप्रभले गरेको हुन्छ । भीषण युद्ध हुन्छ । युद्धमा समयमा राजा बिम्बसार बेपत्ता हुन्छ । युद्धको खास उद्देश्य नगरवधूलाई राजमाता बनाउने हो भन्ने थाहा पाएपछि सोमले युद्ध अन्त्य गर्छ । सोमले सम्राट् बिम्बसारलाई पक्राउ गरी कैद गर्छ । पछि आर्या मातंगीले सबै रहस्य खोलिदिन्छिन् । थाहा लाग्छ, सोमप्रभ सम्राट् बिम्बसारको छोरा हुन्छ । अम्बपाली उसकी बहिनी हुन्छे । तर, अम्बपालीको पिता वर्षकार हुन्छ । यसरी उपन्यासको पूर्वार्द्धमा अम्बपालीको जन्मको रहस्य पटाक्षेप हुन्छ ।

बुद्धं शरणं गच्छामि
भीषण युद्धको एक वर्षपछि गौतम बुद्ध वैशाली आउँछन् । वैशाली सुनसान हुन्छ । अम्बपालीको महलको दैलो बन्द भएको एक वर्ष भइसकेको हुन्छ । उनले गोप्य रूपमा बालकलाई जन्म दिन्छिन् । त्यो बालक बिम्बसारको पुत्र हुन्छ । बालक भावी मगध सम्राट्को रूपमा मगध पठाइन्छ । बुद्ध–आगमनको खबर सुन्नासाथ अम्बपाली बुद्धको दर्शन गर्न जान्छिन् । बुद्ध ८० वर्ष पुगिसकेका हुन्छन् । अम्बपालीले भोजनको निमन्त्रणा गर्छिन् । लिच्छवीहरूले पनि बुद्धलाई भोजनको निमन्त्रणा गर्छन् । बुद्धले अम्बपालीलाई भोजनका लागि आउने वचन दिइसकेको बताउँछन् । लिच्छवीहरूले फेरि एकपटक अम्बपालीसँग हार महसुस गर्छन् ।
आफ्नो विशाल महलमा बुद्ध र समस्त भिक्षुहरूलाई भोजन गराइसकेपछि अम्बपालीले बुद्धसँग कुनै भिक्षुको उत्तरीय (काँध ओढ्ने वस्त्र) माग्छिन् । भिक्षु आनन्दले दिन्छन् । अम्बपाली भित्र जान्छिन् । आउँदा उनले केवल उत्तरीय मात्र बेरेकी हुन्छिन् । न कुनै आभूषण, न कुनै वस्त्र । बुद्धसँग उनी प्रव्रज्या माग गर्छिन् । कुनै बेला आफ्नो रूप र यौवनले संसार जितेकी, धन, सम्पत्ति, सेना, कुनैमा कमी नभएकी अम्बपाली केवल भिक्षा मागिएको उत्तरीयमा बेरिएर बुद्धको शरणमा जान्छिन् । कथाको अन्तिममा थाहा लाग्छ, अम्बपालीलाई मौन प्रेम गर्ने सोमप्रभ भिक्षु भइसकेको हुन्छ ।
समकालीन राजनीतिमा अनेकौं उतारचढाव आइरहँदा आचार्य चतुरसेनको पुनः स्मरण हुन्छ । ‘वैशालीकी नगरवधू’ मार्फत उनले सामन्ती राजनीतिको अनकौं जालझेल चित्रण गरे । आधुनिक राजनीति पनि जालझेल, कपटभन्दा पर छैन । उसो त जिज्ञासाको हत्या उतिबेला पनि र अहिले पनि नाजायज ठहरिन्छ । एउटा सन्दर्भमा आचार्य शाम्बव्य सोमप्रभसँग भन्छन्, ‘राजनीतिमा अति कौतूहल जायज हुँदैन ।’ यही वाक्यले समकालीन नेपाली राजनीतिमा छाएको मौनताको बाक्लो बादल बुझ्न सघाउँछ । आखिर हाम्रो दाशता र मौनता पनि यसरी नै सिर्जना गरिएका त हुन् !
आचार्य चतुरसेनले उपन्यासलाई घटनाप्रधान बनाउँदा–बनाउँदै पनि कैयौं ठाउँमा जादुयी यथार्थवादको भरपूर प्रयोग गरेका छन् । विषयलाई अतिशयोक्ति बनाउन पनि कुनै कसर बाँकी राखेका छैनन् । बुद्धको अन्तिम धर्मचक्र प्रवर्तनमा २ लाख मानिसको उपस्थिति र मगध–वैशाली लडाइँमा दस दिनमा ९६ लाख नरसंहारको आँकडा अपत्यारिलो लाग्छ । बुद्ध र महावीर जैनले तत्कालीन समाजको धर्म, संस्कृति र राजनीतिमा सुधारका लागि गरेको हस्तक्षेपको चित्रणले हाम्रो वर्तमान सभ्यता इतिहास पुरानो अनेकौं द्वन्द्वको प्रतिफल हो भनी स्विकार्न करै लाग्छ । बन्धुल श्रीमती रोहिणीको मुखबाट आचार्य चतुरसेनले दासप्रथाको विरोध गरेका छन् ।
‘वैशालीकी नगरवधू’ ले हामीलाई हाम्रो भूगोलको सुदूर विगत प्रतिविम्बित गर्छ भने त्यसको आलोकमा वर्तमान राजनीतिका उतारचढाव, घात–प्रतिघात र रहस्य महसुस गर्न सघाउँछ ।

Page 19
कोसेली

कवि बोले – ‘जय नेपाल’

सुवानन्दको ॅपृथ्वीस्तुति’ र पृथ्वीनारायणको ‘दिव्योपदेश’ लाई नै लिखित प्रस्थानविन्दु मान्दा पनि नेपाली साहित्यले लगभग अढाई सय वर्ष पार गरिसकेको छ ।
- शार्दूल भट्टराई

२००७ अघिको साहित्य

मलाई बाबुआमा भन्न कर परिरहेका
राक्षसहरूबाट छुट्कारा दिन कम्मर कस
म राक्षसहरूलाई आँसुले छकाएर तिनीहरूको
काल पत्ता लगाइदिन्छु
तिमी उनीहरूलाई मार, मलाई हेर ।
माथिका पद्य–पङ्क्तिहरू सात सालको क्रान्तिका नायक–कवि गोपालप्रसाद रिमालका हुन् । उनको संवेदना आततायी राणातन्त्रको विरोधमा र जनतन्त्रका पक्षमा ‘सपनामा’ शीर्षकको कवितामा यसरी अभिव्यक्त भएको थियो ।

नेपाली भाषामा साहित्य लेखनको थालनी ‘वीरधारा’ बाट भएको मानिन्छ । तर, ‘वीरधारा’ मा देश वा जनताको कुनै वीरताको कुरा भने पाइँदैन । त्यसअन्तर्गत देवीदेउता, राजा–महाराजा तथा सामन्तहरूको प्रशंसा गर्ने, उनीहरूको स्तुति गाउने र उनीहरूलाई अद्भुत पराक्रमी बताउँदै अनेक ढङ्गले वर्णन गर्ने गरिन्थ्यो । यस किसिमका ‘वीरधारा’ का ‘रचनाहरू’ सँगै केही समयपछि ‘भक्तिधारा’ देखियो । ‘भक्तिधारा’ अन्तर्गत ‘रामभक्ति’ र ‘कृष्णभक्ति’ का धार्मिक रचनाहरू लेखिन थाले । त्यसबाहेक साहित्यका नाममा सत्ता वा शासकको स्तुति लेख्नेहरू पनि भए ।
‘वीरधारा’ र ‘भक्तिधारा’ को अवधि लामै रह्यो । यी दुवै ‘धारा’ को अस्तित्व कायमै रहेको अवस्थामा ‘शृङ्गाररस’ ले जन्म लियो । ‘रामभक्ति’, ‘कृष्णभक्ति’ ‘शृङ्गाररस’ र ‘शासक–स्तुति’ को हालीमुहाली रहेकै अवस्थामा राष्ट्र एवम् जनताप्रति चिन्तित तथा सचेत व्यक्तिहरूले साहित्यमा सामाजिक जागरण र विद्रोहको स्वर मुखरित गरेको पाइन्छ ।
नेपाली पद्यको लिखित इतिहास सुवानन्द दासबाट र गद्यको लिखित इतिहास पृथ्वीनारायण शाहबाट सुरु भएको मानिन्छ । सुवानन्दको ‘पृथ्वीस्तुति’ र पृथ्वीनारायणको ‘दिव्योपदेश’ लाई नै नेपाली साहित्यका लिखित प्रस्थानविन्दु मान्दा पनि नेपाली साहित्यले लगभग अढाई सय वर्ष पार गरिसकेको छ ।
निरङ्कुश राणा शासनअघिको शाहकालमा त्यतिबेलाका लेखकहरू राजनीतिबाट टाढै रहे । सुगौली सन्धिबाट जनता निराश बने पनि ‘साहित्यकारहरू’ भने राम र कृष्णका गाथा गाउनमै रमाए । थापा र पाँडेबीचको मारकाटमा लेखकहरू बोलेनन् । दरबारिया षड्यन्त्रबाट कतिलाई निर्ममतापूर्वक काटिँदा र कतिलाई देश निकाला गरिँदा पनि ‘साहित्यकारहरू’ मौन रहे । अधिकांश ‘साहित्यकारहरू’ दरबार नजिकका वा दरबारद्वारा संरक्षित भएकै कारणले पनि उनीहरू राजनीतिक घटना र जनताको दमनलाई बेवास्ता गर्दै शासकहरूलाई नचिढ्याउने बरु खुसी बनाउने धार्मिक भजन अनि ‘सत्तास्तुति’ लेख्नमै सीमित रहेको देखिन्छ ।
जङ्गबहादुरले रक्तपातपूर्ण कोतपर्व मच्चाए । यही समयदेखि नेपालमा राणाशासन सुरु भयो । भानुभक्त आचार्यजस्ता कविसमेत यस्ता ठूला राजनीतिक घटनाक्रमबाट टाढै रहे । उनीजस्तै प्रमुख कविहरू ‘रामभक्ति’ का कवितामै चुर्लुम्म डुबिरहे ।

जोसमनी सन्त ज्ञानदिलदास नाम चलेका लेखक थिए । उनी जनतामा पनि लोकप्रिय थिए । धार्मिक आडमै भए पनि यिनले ब्राह्मणवाद, मूर्तिपूजा र अड्डाअदालतको नोकरशाही प्रवृत्तिको विरोध गरे । सन्तपरम्परावादीहरू चिन्तनका दृष्टिले थोरै मात्र भए पनि सुधारवादी देखिएकाले जङ्गबहादुरले उनीहरूलाई खेद्ने काम गरेका थिए । खेदाइमा ज्ञानदिलदास पनि परे । ओखलढुङ्गाको रुम्जाटारबाट सन्त ज्ञानदिलदास, उनकी पत्नी शीतलामाई र अन्य केही जोसमनी साधुहरूलाई पक्राउ गरी काठमाडौँ ल्याइयो । ज्ञानदिलदासलाई ६ महिनासम्म नजरबन्दमा राखियो । उनलाई ठूलै विद्वान्का रूपमा पाएपछि नजरबन्दबाट मुक्त गरियो । उल्टो जङ्गबहादुरले आफ्ना भाइभारदारहरूलाई ज्ञानदिलदाससँग ज्ञानबुद्धि लिन आदेश दिए । जङ्गबहादुरका भाइ रणोद्दीप सिंहलगायत केही भाइभारदार यिनीबाट दीक्षित पनि भए ।
त्यसपछि ज्ञानदिलदास आफ्नो मत प्रचार गर्न पूर्वतिर लागे । इलाममा पुग्दा उनलाई फेरि गिरफ्तार गरियो । दुई महिनापछि फेरि छोडियो । यसबाट उनी निराश बने । उनी दार्जिलिङतिर स्वनिर्वासित भए । उनका दुई कृति ‘उदयलहरी’ र ‘दोहाहरू’ त्यसबेलाका लोकप्रिय कृतिमा पर्छन् ।
बझाङका रजौटा जयपृथ्वीबहादुर सिंह चन्द्रशमशेरका ज्वाइँ थिए । लेखक सिंह ‘गोरखापत्र’ का मुख्य अधिकारी पनि रहे । यिनी सुधारवादी विचारका थिए । ससुरालीसित युरोप भ्रमणमा गएपछि जयपृथ्वीबहादुर मानवतावादी बने । उनको मानवतावादी स्वझाव र चन्द्रशमशेरको त्रूर स्वभावबीच झगडा चल्न थाल्यो । उनी चन्द्रशमशेरको स्वभावसँग डराउन थाले । अन्ततः आफूलाई सुरक्षित राख्नकै लागि उनी देश छोडेर भारत पुगे र ‘मानवतावादी समाज’ भन्ने संस्था खोलेर बसे । जङ्गबहादुरका भाइ रणेद्दीपसिंह ज्ञानदिलदासबाट दीक्षित भएपछि जोसमनी मतबाट प्रभावित बन्न पुगे । त्यसैका आधारमा उनले ‘वेदान्त गीतसार’ भन्ने पुस्तक लेखे । त्यो पुस्तक काशीबाट प्रकाशित पनि गरे । पछि वीरशमशेर, खड्गशमशेर, चन्द्रशमशेर र डम्बरशमशेर मिलेर रणोद्दीपको हत्या गरे । राणाहरूको आपसी सत्तास्वार्थमा मारिएका यिनीलाई जोसमनी मतमा लागेकै कारण मारिएको दाबी गर्नेहरू पनि छन् । केहीले नेपालको इतिहासमा हत्या गरिएका पहिलो लेखकको रूपमा पनि यिनको चर्चा गर्ने गरेका छन् ।

लेखकहरू असन्तुष्ट थिए यद्यपि राणाशाहीविरुद्ध खुलेर लेख्न भने सकिरहेका थिएनन् । राणाहरूको स्तुति लेख्न नचाहने र राणा शासनको विरुद्ध लेख्ने हिम्मत पनि गर्न नसक्ने केही लेखक चलिरहेको रामभक्तिधारा र कृष्णभक्तिधारालाई छोडेर शृङ्गाररसतिर लागे । केही लेखक भने आफ्नो आक्रोशलाई छिटफुट रूपमा व्यक्त गर्न अग्रसर भए ।
पहलमान सिंह स्वाँरले ‘अटलबहादुर’ नाटकमार्फत चन्द्रशमशेरको शासनकालका विकृतिपूर्ण घटनाहरूलाई सार्वजनिक गरे । चन्द्रशमशेरको शासनकालको प्रशासनिक अत्याचारलाई नाटककारले एउटा दृश्यमा यसरी प्रस्तुत गरेका छन् :
(स्थान : सहर, राजा, मन्त्रीहरू)
राजा : हेर इनी बनिञाहरूले कति माल दोकानमा राखेका छन् अब उप्रान्त सौ रुपैया भन्दा बड्ताको माल कसैले पनि दोकानमा न राखून् । राँडाका छोरा ठूला मानिस हुँ भन्या झै धेरै माल देखाएर लुट्न्या रहेछन् हो कि मन्त्री ?
मन्त्री : गरीब परवर बिलकुल जाली, बदमाश ।
बनिञा : सरकार, धेरै माल नराख्या ग्राहकहरू हेर्दै हेर्दैनन्, सबै बाना मिलाउनु पर्छ ।
राजा : इनीहरू सब बदमाश हुन् । इन्का घर सब उठाएर पूर्वतर्फ बनाउ भन ।
मन्त्री : हवस् ।
जनता वा सानोतिनो व्यापार गरी खानेले राम्रो घर बनाएको र धन कमाएको देख्नै नसक्ने चन्द्रशमशेरको मानसिकतामाथिको दृश्यमा व्यक्त भएको छ । उनको व्यापारविरोधी नीतिलाई पनि उक्त दृश्यले छर्लङ्ग पारेको छ ।
सचेत रूपमा लेखिएको होस् अथवा असचेत रूपमा, विसं १९७४ मा लेखिएको लेखनाथ पौड्यालको ‘पिँजराको सुगा’ कविताले निरङ्कुश राणा शासनमा पिँजराको सुगाजस्तो भएर बस्नुपर्ने जनताको विवशतालाई प्रस्तुत गरेको छ । केहीले यो कविता पूर्णतः गैरराजनीतिक सन्दर्भमा लेखिएको दाबी गर्दै आएका छन् । केहीले भने यसलाई युगध्वनिको रूपमा व्याख्या गरेको पाइन्छ ।

नेपाली साहित्यमा विद्रोही अभिव्यक्तिको आरम्भ विसं १९७७ बाट भएको थियो । विसं २००७ को परिवर्तनअघि, ३० वर्षको अवधिमा साहित्यिक अभिव्यक्तिमा पनि ठूलै परिवर्तन भयो । फलस्वरूप राजनीतिक उथलपुथलमा साहित्यले पनि अहम् महत्त्व राख्न पुगेको छ ।
भारतका विभिन्न ठाउँबाट नेपाली भाषामा विभिन्न पत्रपत्रिका प्रकाशित हुन थाले । तिनमा सुन्दरी, माधवी, गोर्खाली, चन्द्रिका, जन्मभूमि, गोर्खा संसार आदि थिए । यी पत्रिकाहरूमध्ये केहीले चन्द्रशमशेरका विभिन्न अत्याचारहरूको विरोध गर्दै राणाशाहीविरुद्ध सामाजिक सुधार एवम् जागरणका साहित्यिक रचनाहरू प्रकाशित गर्ने गरेका थिए ।
‘गोरखापत्र’ को प्रकाशन र ‘गोरखा भाषा प्रकाशिनी समिति’ को स्थापना राणा शासकका चाहना थिएनन्, बाध्यता थिए । ब्रिटिसहरूको चाकरी गर्न त्रिचन्द्र कलेज स्थापना गरे पनि चन्द्रशमशेरले उक्त कलेज उद्घाटन गर्दा ‘आफ्नो खुट्टामा आफैँले बन्चरो हानेको’ भनाइ व्यक्त गरेका थिए । ‘आर्य समाज’, ‘चर्खा प्रचारक सङ्घ’, ‘नागरिक अधिकार समिति’ जस्ता संस्थाका गतिविधिले पनि राणा शासनविरोधी जनमतलाई बलियो बनाउने काम गरेका थिए ।
राणाशाहीको विरुद्ध सामाजिक जागरण बढ्दै गयो । भित्रभित्रै निरङ्कुशताविरोधी राजनीतिक गतिविधि पनि सुरु हुन थाल्यो । यो स्थितिबाट साहित्यकारहरू पनि अप्रभावित रहन सकेनन् । दुम्जाली कवि धरणीधर कोइराला यसरी जागृतिको शङ्खघोष गर्न पुगे : जाग जाग अब जागन जाग / लाग उन्नति विषे अब लाग / घोर नीद अबता परित्याग / भो भयो अति सुत्यौ अब जाग । कवि धरणीधरको कविता सँगालो ‘नैवेद्य’ विसं १९७७ मा भारतबाट प्रकाशित भयो । यो सँगालो जागरण, विद्रोह र शिक्षाका दृष्टिले महत्त्वपूर्ण थियो । त्यसैले राणा शासकले त्यसलाई नेपाल ल्याउन दिएका थिएनन् ।
विसं १९७७ सालको ‘मकै पर्व’ नेपाली साहित्यका क्षेत्रमा सबैभन्दा पहिलो विद्रोहात्मक घटना थियो । कृष्णलाल अधिकारीद्वारा लिखित ‘मकैको खेती’ पुस्तकले ठूलै हलचल ल्यायो । गद्यमा लेखिएको यस पुस्तकमा केही सिलोक पनि थिए । तिनको रचना भने शम्भुप्रसाद ढुङ्गेल र साम्बभक्त सुवेदीद्वारा भएको थियो । विसं १९७७ को साउन ११ गते कृष्णलाल अधिकारी र शम्भुप्रसाद ढुङ्गेललाई समाती भीमशमशेर राणाको टङ्गाल दरबारमा थुनियो ।
भोजराज काफ्ले र रामहरि अधिकारी भन्ने दुई जनाले पोल लगाएको भरमा मात्र कृष्णलाल अधिकारीको ‘मकैको खेती’ लाई जफत गरी उनलाई जेलमा थुनेको भन्ने कुरालाई अधिकांश समालोचकहरू स्वीकार गर्दैनन् । पुस्तकमा प्रयुक्त कतिपय शब्द–सङ्केतले पनि यो पुस्तक राणाशाहीविरोधी रहेको र कतिपय वाक्यांशहरू राजनीतिक सन्दर्भयुक्त छन् भन्ने पुष्टि हुन्छ । जस्तै ः प्रतीकात्मक सन्दर्भका साथ प्रयोग गरिएका यी वाक्यांशलाई हेरौँ : ‘रातो टाउके कीरा र कालो टाउके कीरा’, ‘विदेशी कुकुर र स्वदेशी कुकुर’, ‘सं. १९०३ देखि नै राच्छेसहरूले प्रवेश गरेको’, ‘बालकलाई आमाको दूधले जस्तो चन्द्रोदयले फाइदा गर्दैन’, आदि ।
पुस्तकमा चन्द्रशमशेरलाई रातो टाउके कीरा र भीमशमशेरलाई कालो टाउके कीरा भनिएको भन्दै लेखक कृष्णलाल अधिकारीलाई यातनासहित जेल सजाय तोकियो । यस घटनालाई नेपालको इतिहासमा ‘मकै पर्व’ का नामले चिन्ने गरिन्छ ।
कृष्णलाल अधिकारीलाई ९ वर्षको जेल सजाय दिइए पनि ४ वर्ष पनि नहुँदै उनको निधन भयो । जेलमा यातनासमेत दिइएका कारण विसं १९८० साल मंसिरमा उनको निधन भएको थियो । उनी चन्द्रशमशेरको शासनमा कडा दण्ड पाउने पहिलो व्यक्ति हुन् । पुस्तकमा शासकहरूको विरोध गरिएकै कारण कानुनी फैसलाअनुसार जेल पर्ने लेखकमा पनि उनी पहिलो हुन् । यातनाका कारण जेलमै मृत्यु हुने लेखकमा पनि उनी पहिलो हुन् । ‘मकैको खेती’ मा पद्य भाग लेखेको आरोपमा शम्भुप्रसाद ढुङ्गेल, भूमिका लेखेको आरोपमा ऋषिभक्त पौडेल र शुद्धाशुद्धि हेरेको आरोपमा सोमनाथ सिग्देलमाथि पनि सजायको कारबाही चलाइएको थियो ।

विसं १९८२ मा कलकत्ताबाट धर्मादित्य धर्माचार्यको सम्पादनमा ‘बुद्ध धर्म र नेपालभाषा’ पत्रिका प्रकाशित भयो । त्यसमा चित्तधर हृदय, वैकुण्ठप्रसाद लाकौल र योगवीरसिंहका कविता प्रकाशित भएका थिए । ती राणाशाहीविरोधी कविता थिए । त्यसमा लाकौलले ‘फुल्नै लागेको फूल’ भन्ने कविता प्रकाशित गरेका थिए । उनले ‘राणाशासनका विरुद्ध क्रान्तिको फूल फुलेरै छाड्ने’ दृढता व्यक्त गरेका थिए ।
विसं १९८८ मा केही राजनीतिक व्यक्तिहरूले ‘प्रचण्ड गोर्खा’ को स्थापना गरे । खड्गमान सिंहलाई क्रान्तिकारी बनेर यसैमा लागेबापत जन्मकैदमा राखिएको थियो । यसको केही समयपछि दशरथ चन्दको नेतृत्वमा ‘नेपाल प्रजापरिषद्’ को स्थापना भएको थियो ।
१९९१ सालदेखि नेपालभित्रैबाट साहित्यिक मासिक पत्रिका ‘शारदा’ को प्रकाशन सुरु भयो । त्यस्तै १९९२ सालमा ‘उद्योग’ को प्रकाशन सुरु भयो । २००४ सालमा ‘साहित्यस्रोत’, ‘आँखा’ पत्रिकाको प्रकाशन आरम्भ भयो । जनताको जागरण र साहित्यकारहरूको विद्रोहमा यस्ता प्रकाशनले बल पुर्‍याउनु स्वाभाविक थियो ।
भीमशमशेरका शासनकालमा वैकुण्ठप्रसाद लाकौल, योगवीरसिंह कंसाकारलगायतले ‘पुस्तकालय राख्न पाऊँ’ भनी बिन्तीपत्र दिने तयारी गरे । यो कुरा थाहा पाएपछि शासकहरूले लाकौललगायतलाई समातेर दण्डित गरेका थिए । पुस्तकालय स्थापना गर्ने कुरामा लक्ष्मीप्रसाद देवकोटासमेत लागेका थिए । यसमा उनलाई समेत दण्डित गरिएको थियो । यो घटना नेपालको इतिहासमा ‘पुस्तकालय पर्व’ का नामले चर्चित रहेको छ ।
मान्छेको हकअधिकार र समाज सुधारका बारेमा कविता लेख्थिन् योगमाया । उनको नेतृत्वमा राणा शासक भीमशमशेरसमक्ष सुधारका विभिन्न मागहरू प्रस्तुत गरिएका थिए । ती माग पूरा नगरिएमा सामूहिक आत्मदाह गर्ने चुनौती दिइएको थियो । मागहरू पूरा नगरिएपछि योगमायासहित ५७ जनाले अरुण नदीमा हाम फालेका थिए । राणाकालीन अत्याचार तथा शोषण–उत्पीडनविरुद्ध योगमायाको स्वर यस्तो थियो ः थितिदेखि बिथितिता भएकै छ अैले / यही थिति बिग्रनाले बिन्ती गरेँ मैले / आसामीले पैले कर्जा तिरिसकेछ / साहू भन्ने लोभीले त बाँकी भनेछ ।

विसं १९९३ देखि जहानियाँ शासनविरुद्ध राजनीतिक आन्दोलनका प्रयासहरू हुन थाले । सङ्गठित बन्दै गएको विद्रोही भावनालाई दबाउन जुद्धशमशेरले कठोर नीति लिए । विद्रोहमा संलग्न भएको आरोपमा मानिसहरूलाई गिरफ्तार गरेर जेलमा हाल्न थालियो । तर, प्रजातन्त्रको पक्षमा उभिएका युवाहरू राणाहरूको अत्याचारबाट आत्तिएनन् । गङ्गालाललगायतका क्रान्तिकारी युवाहरूलाई गिरफ्तार गरेर जेलमा राखियो । गङ्गालालले जेलभित्रैबाट आफ्नो साहसको परिचय यसरी दिए ः किन डरूँ मृत्युदेखि मर्न कम्मर कसेको / हुँ एक वीर पुत्र माँ नेपालको ।
विसं १९९७ सालमा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त र गङ्गालालको हत्या गरियो । यस घटनाबाट कवि–लेखकहरू आक्रोशित बन्न पुगे । उनीहरू राणाशाहीका विरुद्ध क्रान्तिको आह्वान गर्न थाले । चित्तधर हृदय, फत्तेबहादुर सिंह, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा, केदारमान व्यथित, पूर्णबहादुर मानव, लक्ष्मीनन्दन चालिसे, युद्धप्रसाद मिश्र, तारिणीप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, हृदयचन्द्रसिंह प्रधान, श्यामप्रसाद शर्मालगायतका साहित्यकारहरू आफ्ना अभिव्यक्तिमार्फत निरङ्कुश राणा शासनका विरुद्ध प्रजातन्त्रको माग गर्न थाले । राणाशाहीका विरुद्ध महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रखर ढङ्गले प्रस्तुत भए ः जङ्गलको कानून / जसले हाँक्यो उसको पाक्यो / काँतरको हक थाक्यो / नलडी कोही हुन्न विजेता ।
‘साँढे’, ‘बाघले बच्चा किन खान्छ’, ‘भाँचूँ भाँचूँ लाग्छ यो कलम’ जस्ता विद्रोही कविता लेखेर देवकोटा राणा शासकलाई थर्काउन पुगे । उनी २००४ सालमा बनारस पुगे र ‘युगवाणी’ पत्रिकाको सम्पादक मण्डलमा रही राणाशाहीविरुद्ध अझै कडा ढङ्गले कलम चलाउन थाले । ‘पहाडी पुकार’ मार्फत त उनी निरङ्कुशताको समाप्ति मात्र हैन शोषित–पीडित गरिब किसानको मुक्तिको गीत
गाउन पुगे ।
क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले राणाशाहीविरुद्धको ‘जनक्रान्ति’ लाई जूनसँग र राणाशाही अत्याचारलाई जडतासँग दाँज्दै ‘आमाको सपना’ कवितामा क्रान्तिको आह्वान यसरी गरे ः हेरौँला, त्यो हुरी भएर आउनेछ / तिमी पात भएर पछ्याउनेछौ ।
कवि सिद्धिचरण श्रेष्ठले ‘क्रान्तिविना शान्ति हुँदैन’ भनेर कवितामार्फत खुल्ला रूपमा क्रान्तिको आह्वान गरे भने कवि महानन्द सापकोटाले राणाशासनसँगै सामन्ती हैकमवाद, विभेद एवम् शोषण–उत्पीडनको आयु नै समाप्त भएको घोषणा गरे । अर्का क्रान्तिकारी कवि युद्धप्रसाद मिश्र राणाशाहीविरोधी राजनीतिक गतिविधिमा समेत सक्रिय रहँदैं विद्रोही कविताहरू लेख्न थाले । विसं १९९२ मै उनले लेखेका थिए ः कलम लुक्दछ यो दिल दुख्दछ / हृदयमा अब कम्पन उठ्दछ । राजा–महाराजा, राजपरिवार, सामन्त र देवीदेउता आदिलाई मात्र पात्र बनाएर धार्मिक खालका र भक्ति–स्तुतिका रचनाहरू सिर्जना गर्ने र शृङ्गार रसका साहित्यको नाममा अश्लीलतालाई प्रश्रय दिने युगलाई समाप्त गरी नेपाली साहित्यकारहरू जनसाधारणका दुःखलाई अभिव्यक्त गर्ने काममा मात्र लागेनन्, उनीहरू प्रजातन्त्रको माग गरेर लेख्न थाले । राणाशाहीविरुद्ध लागेकै कारण लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, सिद्धिचरण श्रेष्ठ, हृदयचन्द्रसिंह प्रधान, फत्तेबहादुर सिंह, चित्तधर हृदय, केदारमान व्यथित, लक्ष्मीनन्दन चालिसे, युद्धप्रसाद मिश्र, श्यामप्रसाद शर्मा, विश्वेश्वरप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, गणेशबहादुर प्रसाईजस्ता लेखकहरूले यातना, जेल र निर्वासनलाई बेहोर्नुपरेको थियो । राणाशाहीलाई ढाल्ने र प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले जागरुक र सचेत युवाहरूको अगुवाइमा नेपाली काङ्ग्रेस पार्टी र नेपाल कम्युनिष्ट पार्टी स्थापना भए । ठूला र शक्तिशाली राजनीतिक पार्टीहरूको गठनबाट राणाहरू त्रस्त थिए भने लेखकहरू हौसिएका थिए । यसपछि लेखकहरू लेखेर मात्र होइन, आफैँ पनि सक्रिय भएर राणाविरोधी सङ्घर्षमा सामेल भएका थिए । .
सात सालअघि केही प्रगतिशील साहित्यकारहरू मिलेर ‘जनसाहित्य मण्डल’ गठन गरेको देखिन्छ । तर, त्यसले सङ्गठनको अस्तित्व कायम गर्न भने सकेन । त्यस्तै, कवि गोपालप्रसाद रिमालले आफ्नै पहलमा ‘नेपाल प्रजापञ्चायत’ को गठन गरेका थिए । उनले लेखकहरूलाई सङ्गठित गर्नकै लागि यस्तो सङ्गठन बनाएका थिए । त्यसमा उनले विजय मल्ल, गोपालदास, त्रिपुवरसिंह आदिलाई सङ्गठित गरेका थिए । यसकै माध्यमबाट क्रान्तिको नारा चर्काउने काम भएको थियो । कवि रिमालले कसैलाई भेट्दा र कसैसँग छुट्टिँदा हरेकपटक ‘जय नेपाल’ भन्ने चलन पनि यसै बेला सुरु गरेका थिए । सबैभन्दा पहिले उनी आफैँले ठूलो स्वरमा भने– ‘जय नेपाल ।’ त्यसपछि अरू कवि–लेखकले पनि भन्न थाले । पछिपछि त राणाविरोधी क्रान्तिकारीहरूको थेगो नै बन्न पुग्यो– ‘जय नेपाल ।’
कवि रिमाल राजनीति र साहित्य दुवैतिर सक्रिय रहे । सात सालको परिवर्तनका सन्दर्भमा उनी कविता र क्रान्तिको नेतृत्व नै गर्न पुगे । उनी क्रान्तिका नायक–कविका रूपमा चिनिए । २००४ सालमा उनी राणाशाहीविरुद्ध कुर्लिएका थिए ः एक जुगमा एक दिन एकचोटि आउँछ । राणशासनविरुद्ध कवि रिमालले प्रार्थनाको अभियान पनि चलाए । बिहान पशुपतिमा र बेलुका शोभाभगवतीमा गएर ‘राणाशासनको विनाश होस्’ भन्ने कामनासहित प्रार्थना गर्ने अभियान पनि उनले चलाए । उनको प्रार्थनामा सहभागी हुनेहरूमा विजय मल्ल, श्यामदास वैष्णव, दमनराज तुलाधर, कृष्णप्रसाद रिमाल आदि थिए ।

सात सालअघिका पद्यमा मौलिकतासँगै नयाँनयाँ प्रयोगहरू पनि भएका छन् । शास्त्रीय छन्दमा कविता लेख्ने प्रचलन रहेकामा यसै समयमा गद्यको प्रयोग सुरु भयो । गोपालप्रसाद रिमाल र लक्ष्मीप्रसाद देवकोटाका कवितालाई उदाहरणका रूपमा लिन सकिन्छ । त्यस्तै झ्याउरे शैलीको आरम्भ पनि यसै समयबाट भयो । महानन्द सापकोटाको ‘मनलहरी’ र लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ लाई त्यसको उदाहरणका रूपमा लिन सकिन्छ ।
कवितामा झैं गद्य विधामा भने विद्रोहको स्वर त्यति मुखरित भएको पाइँदैन । तथापि, सामाजिक दृष्टिले केही यथार्थवादी र केही आदर्शवादी कृतिहरू यस समयका उपलब्धिका रूपमा रहे । रुद्रराज पाँडेको ‘रूपमती’, बालकृष्ण समका ‘मुटुको व्यथा’, ‘मुकुन्द–इन्दिरा’, लैनसिंह बाङ्देलको ‘मुलुकबाहिर’, गोपालप्रसाद रिमालको ‘मसान’ लक्ष्मीप्रसाद देवकोटाका ‘कुञ्जिनी’, ‘वसन्ती’, ‘राजकुमार प्रभाकर’, रूपनारायण सिंहको ‘भ्रमर’, लेखनाथ पौड्यालका ‘लक्ष्मीपूजा’, ‘बुद्धिविनोद’, ‘सत्यकलि संवाद’ भीमनिधि तिवारीका ‘सहनशीला सुशीला’, ‘किसान’ हृदयचन्द्रसिंह प्रधानको ‘छेउ लागेर’ जस्ता कृति यसै समयमा लेखिए । गुरुप्रसाद मैनालीको ‘नासो’, पुष्करशमशेरको ‘परिबन्द’, भवानी भिक्षुको ‘त्यो फेरि फर्केला ?’ विश्वेश्वरप्रसाद कोइरालाको ‘कर्नेलको घोडा’ जस्ता कथा, बालकृष्ण समको ‘बर्दहामा शिकार’, लक्ष्मीप्रसाद देवकोटाका ‘आषाढको पन्ध्र’, ‘निद्रा’ जस्ता निबन्ध पनि यसै समयमा लेखिएका थिए ।
शासकको स्तुतिबाट आरम्भ भएको नेपाली साहित्यको मूलप्रवृत्ति सातसालमा आइपुग्दा शासककै विरुद्धमा उभियो । त्यसैकारण पनि सात सालको परिवर्तनमा साहित्यको भूमिका महत्त्वपूर्ण रह्यो । 

कोसेली

गिद्धहरु गीत गाउँदैनन् !

- प्रदीप ज्ञवाली

कावा खाँदैमा उचाइमा
कहाँ होइँदो रै’छ र उच्च ?
भिर्दैमा उधारोको छिर्केमिर्के आस्कोट
कहाँ भइँदो रै’छ र
हिमालझैँ शुभ्र, हिमनदीझैँ स्वच्छ ?
आकाशमै उडे पनि
भुइँतिरै फर्केका हुन्छन् गिद्धका नजर
आँधीजस्तो वेग हुँदैमा
कहाँ सोहोरिँदो रै’छ र आँगनको कसिङ्गर ?
सधैँ सिनोकै खोजीमा हुन्छन् गिद्धका दृष्टि

गिद्धहरु गीत गाउँदैनन् !

कसिसकेको पटुकीको सुर्केनी पासो फुकाएर
सुसेल्दै पिङमा झुल्न सिकाउँछन् गीतहरूले
आँखाबाट बगेको साउने झरी पुछेर
मंसिरमा तोरीबारी फुल्न सिकाउँछन् गीतहरुले
तर,
जीवनको गीतसिके भने सबैले
मृत्युको महाभोज कहाँ पाउनु ?
मुस्कानको लय सिके भने सबैले
परपीडाको धुन सुन्न कहाँ पाउनु ?

त्यसैले गिद्धहरु गीत गाउँदैनन् !

न छोर्तेनमाथि जगमगाइरहेका लुङ्दर
न त मन्दिरमा मगमगाइरहेको धूपबत्ती
न आमाले कानेताती गराइदिँदा
गुन्द्रीमा खिलखिलाइरहेको नानी
न त बिहानी घाममा झल्झलाइरहेको
पातमाथिको एक थोपा पानी
अहँ, देख्दैनन् तिनले
सिन्दूरले नुहाइरहेको कञ्चनजङ्घा
सपनाहरु बोकी हिँड्ने
श्रमजीवी कमिलाहरुको जन्ती र
जाडो छल्न बेंसीतिर बगिरहेका मालचराहरुको गङ्गा !

गिद्धहरू गीत गाउँदैनन् !

बस्, यौटै खोजी छ तिनको–
कहाँ भेटिएलान्
मृत्युले आग्लो लगाएका
आँखाका शून्य परेलीहरु ?
कहाँ देखिएलान्
निभ्नै लागेका
छातीभित्रका निस्तेज टुकीहरु ?
खै कहाँ भेटिएलान्–
जिन्दगीको सुवास नै बिर्साउने
दुर्गन्धित मोजाजस्ता
महामृत्युका काला छायाहरु ?

हो, गिद्धहरु गीत गाउँदैनन् !

माघ, २०७६

Page 20
कोसेली

रेडियोको रङ

विश्व रेडियो दिवस
- भूपेन्द्र खड्का

अघिल्लो साता मैले एक युट्युबर विश्व लिम्बूलाई अन्तर्वार्ता दिएँ । मूलतः विषय समसामयिक रेडियो प्रसारण र रेडियो जीवनका बारेमा थियो । उनको युट्युब च्यानलमा हजारौंले अन्तर्वार्ता हेरे र मलाई प्रतिक्रिया दिए, ‘तपाईं अझै रेडियोमा बोल्दै हुनुहुन्छ ? अझै रेडियोमा हुनुहुन्छ ? अब टीभी वा युट्युब च्यानलमा आउनुपर्‍यो ।’ रेडियोमा मलाई सुनेका स्रोताका दर्शकरूपी सुझावले समकालीन नेपाली रेडियोको प्रस्तुति, समसामयिकता र इतिहासप्रति घोत्लिन बाध्य बनायो ।
फेब्रुअरी १३ तारिख (फागुन १ गते) विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा सन् २०११ नोभेम्बर ३ तारिखको युनेस्कोको ३६ औं सम्मेलनले हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई विश्व रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०१२ देखि यस तारिखलाई विश्व रेडियो दिसको रूपमा मनाउँदै यसपालि नवौं विश्व रेडियो दिवस मनाइएको छ ।

सात सालको रेडियो–स्वर
अठारौं शताब्दीको अन्तिम दशकमा इटालियन इन्जिनियर (जसले भौतिक शास्त्रमा नोबेल पुरस्कारसमेत पाए) मार्कोनीको सोचले मूर्तरूप पाएको रेडियो यो दुई सय वर्षको सर्वाधिक शक्तिशाली सञ्चारको साधन बन्यो । यसले संसारका हरेक देशका परिवर्तनलाई जनताका साझा आकांक्षासँग जोड्दै परिवर्तनको संवाहक बन्नमा पनि अहम् भूमिका निर्वाह गर्‍यो । कुनै समय विकसित र विकासशील मुलुकका खानदानीहरूको सबैभन्दा ठूलो वैभवको पहिचान बनेको रेडियो नेपालमा पनि राणाकालको अन्तिम समयतिर सन् १९५० मा भित्रियो ।
‘मोहनशमशेरका पिए मि.सु. हरिबहादुरको घरमा फर्गुसन भन्ने रेडियो थियो । आम जनताले पहिलोपटक नेपालमा देखेको रेडियो त्यही हो’, वरिष्ठ साहित्यकार एवं संस्कृतिकर्मी श्यामदास वैष्णवले भनेका छन्, ‘त्यस रेडियोमा धेरै प्रस्ट आवाज आउँदैनथ्यो र क्यार्र गर्दै बज्थ्यो । रेडियो सुनेर हामीले त्यो समयमा चीनमा क्रान्ति भइरहेको कुरा थाहा पाएका थियौँ । त्यतिबेला बाकसजस्तो रेडियोबाट आउने आवाज सुन्दा हामीलाई विचित्र लाग्थ्यो । अर्कै लोकमा पुगेको जस्तो महसुस हुन्थ्यो । २००३ सालमा पद्मशमशेरको पालामा नेपालमै रेडियो प्रसारण हुन्छ भन्ने कुरा अरूबाट सुने पनि मैले उक्त रेडियो सुनेको थिइनँ ।’
‘रेडियो नेपाल’ आउनुपहिले विराटनगरको जुट मिल्स एरियामा ‘क्रान्तिको आवाज’ को रूपमा आकाशवाणीबाट ‘नेपाल प्रजातन्त्र रेडियो’ को जन्म भएको थियो । राणाको निरंकुशताविरुद्ध तारिणीप्रसाद कोइरालाले सुरु गरेको सो रेडियोबाट उनैले २००७ साल मंसिर २८ गते बिहान ८ः३० बजे समाचारवाचन गरेका थिए, ‘यो नेपाल प्रजातन्त्र रेडियो हो । हामी विराटनगर मुक्तिमोर्चाबाट बोलिरहेका छौं ।’ सो रेडियोबाटै १६ वर्षीया बाला रानुदेवी अधिकारीले पहिलोपटक प्रत्यक्ष गीतसमेत गएकी थिइन्, ‘नेपाली, नेपाली, अघि बढौं हातमा क्रान्ति झन्डा लिई ।’ यो गीत कांग्रेसको प्रचार नाराका रूपमा आएपछि प्रतिबन्धित भएको थियो ।
त्यही नेपाल प्रजातन्त्र रेडियो मोहनशमशेर प्रधानमन्त्री भएका बेला तत्कालीन बिजुली अड्डाबाट पनि परीक्षणका रूपमा प्रसारण भएको थियो । राणा शासकका परिवारले पुस्तकालयको रूपमा उपयोग गर्दै आएको भवनलाई प्रजातन्त्रको आगमनपछि ‘रेडियो नेपाल’ बनाई २००७ चैत २० गतेदेखि काठमाडौं सिंहदरबारबाट रेडियो प्रसारण सुरु भयो । रेडियो नेपाल परिसरभित्रको अहिलेको पुरानो भवन त्यही हो ।
त्यसपछि रेडियोले दैनिक बिहान–बेलुकी समाचार र प्रत्यक्ष गायनको कार्यक्रम गर्ने गर्थ्यो, दैनिक २ घण्टा । त्यसरी सुरुआत भएको रेडियोको इतिहास आज एफएम रेडियोको तरंगसँगै नयाँ स्वरूपमा आइसकेको छ ।

रेडियोको स्वर
बालकृष्ण समको प्रशासकीय निर्देशनमा उनका छोरा जनार्दन सम, श्यामदास वैष्णवलगायतबाट सुरु भएको रेडियो नेपालको आजको समयसम्मको इतिहासमा धेरै व्यक्तिले आफ्नो वैयक्तिक इतिहास बनाउने मौका पाएका छन् । प्रथम गायक, गायिका, संगीतकार, गीतकार, रेकर्डिस्ट, समाचारवाचक, वाद्यवादकदेखि प्रथम गीत फर्माइस गर्ने स्रोतासम्मको इतिहास छ । महेन्द्रको ‘कु’ सँगै संकटमा परेको त्यतिबेलाको सञ्चारले सरकारी आवाजबाहेक जनताका आवाजलाई समेट्न नसकेपछि पञ्चायतका ३० वर्ष जनताका निम्ति सञ्चारबाट टाढा रहेको समय बन्यो । यद्यपि त्यतिबेला गीत–संगीतको विकास भने भएको देखिन्छ । जब २०४७ मा प्रजातन्त्रको पुनःस्थापना भयो, प्रविधिको विकाससँगै नेपालमा पनि एफएम रेडियोको सुरुआत भयो । निजीस्तरमा स्थापना भएका रेडियोले जनताका साझा मुद्दालाई सम्बोधन गर्न सकेकाले नेपालमा रेडियो संस्कृति चाँडै लोकप्रिय भयो । दक्षिण एसियामै छोटो समयमा धेरै रेडियो खुल्ने देश नेपाल बन्यो । त्यति मात्र नभई पहिलो सामुदायिक रेडियो सञ्चालन गर्ने देश पनि नेपाल नै बन्यो ।

एफएम रेडियोको बाढी
मैले रेडियो सुन्न सुरु गर्दा ‘रेडियोमा बोल्छु’ भन्ने कहिल्यै कल्पना गरेको थिइनँ । मेरो रेडियो–करियर ‘रेडियो कान्तिपुर’ भित्र आइपुगेको पनि १२ वर्ष भइसकेको छ । आफ्नो बोल्ने बानीका कारण म रेडियोप्रति आकर्षित भएको थिएँ । २०४८ सालमा जन्मघर बागलुङमा बुबाले किनेर ल्याएको फिलिप्सको रेडियोले मलाई रेडियोमा बोल्नेसम्मको यात्रा तय गराएको थियो ।
सर्ट वेभ र मिडियम वेभको तरंग आज डिजिटल दुनियाँमा पुगिसकेको छ । मानिसको आवाजलाई हामी डिजिटल आवाज बनाइरहेका छौं । अहिले रेडियो नेपालका नयाँ स्वरूपहरू करिब ७ सय एफएम रेडियोमा बिस्तार भएका छन् । समुदायको कुरा भन्नेदेखि विशुद्ध व्यवसायको स्वरूपमा सरकारी नीतिभित्र रहेर सञ्चालन भएका रेडियोहरूको अहिलेको अवस्था के हो ? आफैं रेडियोमा बोल्दै गर्दा मेरो मनमा आउने पेचिलो प्रश्न हो यो ।
जब ०५२ र ०५३ पछि घर–घर, टोल–टोल र गाउँ–गाउँमा रेडियो खुले, रेडियोमा बोल्ने मान्छे ‘विशेष मान्छे’ हो भन्ने दर्जा खोसियो । सबैलाई लाग्यो, रेडियोमा जो पनि बोल्न सक्छ । र, यो यथार्थ पनि हो, रेडियोमा जो पनि बोल्न सक्छ । तर, जो पनि बोलिएकोलाई कति ‘जो–कोही’ले सुन्छन् भन्ने प्रश्न गहिरो हो ।
हिजो बीबीसी नेपाली सेवामा सुनिएका नामहरू आज गुमनाम छन्, हिजोका रेडियो नेपालका स्टार रेडियो प्रसारकहरू बिलाइसकेका छन् । भन्नुको अर्थ रेडियोमा बोल्नेको स्वर–आवाजको प्रभाव र घनत्व खोइ ? लामो समय आफ्नो प्रभावशाली प्रशारणले प्रभाव पारेका ती व्यक्तिको सामाजिक छविको आयतन कस्तो र कत्रो छ अहिले ? समाज परिवर्तनका निम्ति सञ्चारको एउटा अंग रेडियोमा जीवनको सर्वाधिक ऊर्जाशील जीवन बिताएकाहरूको सामाजिक स्थान कहाँ छ ?
हुन त संसारभर सत्ताको कुर्सीमा बसेका वा आफ्नो फरक कामले चर्चामा रहने केही व्यक्ति कुनै समयका रेडियोकर्मी हुन् पनि । नेपालमै पनि त्यस्ता केही व्यक्ति नभएका होइनन् ।

प्रस्तोताको घट्दो क्रेज
रेडियोकर्मीको सामाजिक जीवनको आयतन किन गहिरो भएन भनेर घोत्लिँदा भने यसमा केही अस्पष्ट धर्साहरू पक्कै छन् । पहिलो कुरा बोल्नु र रेडियोमा बोल्नुको तात्त्विक भिन्नता थाहा हुनु जरुरी छ । रेडियो कार्यक्रम प्रस्तोता केही त्यस्ता गुणले विभूषित व्यक्तित्व हो, जसको भाषा र ध्वनिमा समाज, सभ्यता, संस्कृति, भूगोल र इतिहासको ज्ञान प्रचुर भएकै हुनुपर्छ । प्रस्तोताले बोलेको आवाजले रेडियो सुन्ने श्रोतालाई आफूतर्फ खिच्न सकेन भने ऊ सफल प्रस्तोता हुने सक्दैन । त्यो आवाजमा उसको भाषा, शैली र शिल्प असल मूर्तिकारको मूर्तिजस्तै कुँदिएको हुनु जरुरी छ । त्यो कुँदिएको लवजमा समाज बन्ने तत्वहरू मिसिएको हुनु जरुरी छ । भनाइको अर्थ के भने कुनै गीत–संगीत बजाउने रेडियो प्रस्तोताले पनि सामान्य संगीतको ज्ञान, संगीतको विधा, सिर्जना शिल्प, संगीतको इतिहासलगायत कुराको ज्ञान हुनैपर्छ, नत्र प्रस्तोताको अब्बल सूचीमा पर्न सकिन्न ।
रेडियो प्रस्तोताको गुण केलाउँदै गर्दा रेडियो संस्थापक र रेडियोको वातावरण पनि विचरण गर्नुपर्ने हुन्छ । कुनै मापदण्डबिना सरकारले निजी एफएम रेडियो खोल्ने लाइसेन्स दिएपछि मनलाग्दी रूपमा स्टेसनहरू स्थापना भए । सञ्चारजस्तो संवेदनशील क्षेत्रमा लाइसेन्स बाँडिनुअघि सञ्चालकको शिक्षा, लगानीको स्रोत आदि पक्ष हेरिएन । र, हाम्रो देशका सात सयभन्दा बढी एफएमका साहुजीहरूमध्ये ९० प्रतिशतको अवस्था यस्तै नै छ, जसको रेडियो स्टेसन स्थापना गर्ने स्तर नै छैन । सरकारी नीतिभित्र स्पष्ट हुनुपर्थ्यो— सञ्चारगृह स्थापना र सञ्चालन गर्ने व्यक्तिको शिक्षा, सामाजिक छवि, आय र अन्यान्य कुराको निश्चितता । तर, हुन सकेन, तत्कालीन सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले मासुको बिलो लगाएजस्तै एफएम स्टेसनलाई बिलो लगाए । फलतः अहिले कमजोर हालतमा रडियो स्टेसनहरू छन् ।
अर्को कुरा रेडियो स्टेसन एउटा ‘सिर्जनात्मक थलो’ हो र हुनुपर्छ । तर, त्यसो हुन सकेको छैन । केही राम्रा र अब्बल भनिएका रेडियोहरू सरकारी कार्यालयजस्ता बनाइएका छन् । नीति–नियम सबै छन्, भनेका काम हुन्नन् तर बोल्नुचाहिँ पर्छ । सिर्जनशील थलोका लागि चाहिने स्वतन्त्रता, पेसाप्रतिको गर्वबोधका निम्ति चाहिने वातावरण, अध्ययन कक्ष, लाइब्रेरीलगायतका अनुसन्धान र अध्ययनका लागि स्वतन्त्र स्थल छैनन्, जसका कारण प्रस्तोता फगत प्रस्तोता मात्रै बनिरहेका छन् ।
रेडियो प्रस्तोता भनेको फगत रेडियोमा बोल्ने मान्छे मात्र हो भन्ने आमधारणा परिवर्तन गराउन उसको सामाजिक छवि र जीवनशैली आम जनमानसको भन्दा फरक हुनु जरुरी छ । त्यसका लागि सञ्चार गृहले उसको उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने हुन्छ । यहाँ रेडियोमा बोल्ने लोभ र प्रस्तोता बन्ने हुटहुटीले बिनापारिश्रमिक बोलिरहेकाहरूको बिगबिगी धेरै छ । केही राम्रा भनिएका रेडियोको प्रस्तोताप्रतिको व्यवहार समयानुकूल हुनु जरुरी छ । रेडियोमा बोलेर स्टार बनिरहेको प्रस्तोताको जीवनप्रति रेडियो सञ्चालकले बेइमानी गर्नुहुन्न ।

खुइलिँदो रेडियोको रङ
सबै चीजको रङ आजकल झन् गाढा हुँदै गइरहेको छ तर रेडियोको रङ किन खुइलिँदै गइरहेको छ त ? पछिल्लो समयमा आएका नयाँ मिडियाका कारण ? यो एउटा आम धारणा मात्र हो । नयाँ मिडियाको आगमन भइरहँदा रेडियो स्टेसनले आफूलाई परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ । त्यो आवश्यक प्रविधि र माध्यममार्फत गरिनुपर्ने परिमार्जन नै हो । रेडियोले, रेडियोमा प्रस्तुत हुने सम्पूर्ण सामग्रीको लिपि अनलाइनमा प्रस्तुत गर्न सक्छ । त्यसको अडियो पोडकास्ट गर्न सक्छ । त्यसको भिडियो युट्युबमा अपलोड गर्न सक्छ । रेडियोका निम्ति ती तीनै माध्यम नयाँ मिडियाको यात्रा मात्रै होइन, कमाइका माध्यम पनि हुन् ।

श्रोताको घट्दो सङ्ख्या
अब रेडियो कसले सुन्छ ? भन्ने प्रश्नको यकिन जवाफ नभए पनि संसारका धेरै मुलुकको जीवनशैली रेडियो नै हो । वास्तवमा एउटा असल रेडियोले बिहान उठेदेखि राति सुत्ने बेलासम्म प्रसारण गर्ने समाचार र अन्य सामग्रीका कार्यक्रमले मानिसको जीवनमा प्रभाव पारेको हुन्छ । समाजको स्वरूप र सोचअनुसार रेडियो प्रशारण गर्न सकियो भने हाम्रो जीवनशैलीबाट रेडियो कहिल्यै टाढा जाँदैन । अझै उमेर, सामाजिक चेत, सोच र विचारअनुसारका कार्यक्रम उत्पादन गर्न सकियो भने रेडियो जीवनशैलीबाट जीवनको अंग बन्न सक्छ । अहिले आफ्नो अब्बल प्रसारणले केही रेडियो प्रस्तोताका कार्यक्रमहरू सुनेको पाइन्छ । छिटपुट प्रतिक्रिया पाइन्छ । हिजो रेडियोमा बोल्नेहरूको नाम मानस–बोर्डबाट मेटिएर जाँदै छन् । तर, रेडियो सुनिन्छ, जुनसुकै बेला पनि भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्त छन् । जस्तो कि २००७ सालको परिवर्तनपूर्व, २०६२–०६३ को परिवर्तनको समय र ०७२ को भूकम्पको समयलाई लिन सक्छौं । त्यसबेला सूचना र मनोरन्जनका संवाहक बन्न सके रेडियोहरू ।
रेडियोलाई सामाजिक उत्तरदायित्वको अंग बनाउन श्रोतासँग गरिने संवादमा अपनत्व हुनु जरुरी छ । अझै रेडियो व्यक्तिगत जीवनदेखि सामाजिक जीवनको अपरिहार्य पाटो बन्न सक्यो भने यसको रङ कहिल्यै खुइलिनेछैन । हुन त रेडियो चम्कने समाजको रङसँगै हो । तर, सबैको सोच परिवर्तन नभएसम्म न त समाजको रङ परिवर्तन हुनेछ, न त रेडियोको रङ नै ।
@khadkabhupendra

कोसेली

यी साना खुसी

- मीरा ढकाल

चालीस वा पचासको दशक ! पश्चिम पहाडको जिल्ला स्याङ्जा ! आँधिखोला किनारको कुनै एक गाउँ ।
तपाईंको दिमागमा कस्तो दृश्य आयो ? कल्पना गर्नुस् न ! गर्नुभयो ?
पख्नुस् है ! प्रकृति, खोलानाला, पहरा, छहरा, चरा, कीरा, पुतली यस्तै–यस्तै दृश्य आयो ?
हो, मेरो बाल्यकाल यस्तै हुनपर्ने हो । यस्तै यावत् यादहरूले मेरो बाल्यकाल भरिपूर्ण हुनपर्ने हो । तर, विडम्बना मेरो बाल्यकाल यस्तो भएन र यसको जिम्मेवार म आफैँ हुँ । आजकलका केटाकेटीलाई जसरी हातमा मोबाइल, कम्प्युटर, ट्याब पनि दिइएको थिएन मलाई । त्यो अवस्थामा इन्टरनेटको अम्मल लाग्ने सम्भावनै रहेन । तर, पनि मचाहिँ घरको चार भित्ताभन्दा पर पुग्दै पुगिनँ । आँगन नाघेर कतै जान आफैँले कुनै कसरत गरिनँ । तर, मेरो भाइ डुलिबस्थ्यो । कहिले जीउभरि सिस्नोले पोलिएर आउँथ्यो । कहिले हिलोमा दलिएर आउँथ्यो । अझै कहिले त स्कुल हापेर लिँड्कोमा चढेर आनन्द लिन्थ्यो । अटेरी भनेर गाली पनि खान्थ्यो । आफ्नै भाइले यस्ता हर्कत गरे पनि मचाहिँ खै किन हो, घरमै रमाउँथेँ । मेरै साथीहरू छेउकै खोलामा माछा मार्न जान्थे । थालमा कपडाले बेरेर सानो प्वालमा पिठो दलेर माछा पार्थे । उनीहरू रूखबिरुवा, चरा कीराको नाम जान्दथे । कहिले त गोजीमा भएको गुलेली निकालेर भुर्र चरालाई ठहरै पार्थे । फुर्र उडेका पुतली समाउन सक्थे । गाइनेकीरा समातेर धागोमा डोरी बाँध्थे । गाउँकै छेउको काउरोटीको रहको गहिराइ मापन गर्थे । टाप्रेको डिल कति डरलाग्दो छ बताउँथे । भालु पहाडको भीमकायपनाको विस्तार लगाउँथे । तर, म ? त्यसै मौन बसिदिन्थेँ । किनकि मसँग उनीहरूलाई सुनाउने विशेष अनुभव नै थिएन ।
साथीहरू खेल्थे, कुद्थे, उफ्रिन्थेँ । अहिले फर्केर आफ्नै विगत हेर्दा मैले सायद साँघुरो घेरामा आफैँलाई कैद गरेँ र प्रकृतिको सान्निध्यतामा प्राप्त गर्ने असिम आनन्द र सानासाना खुसीबाट आफैँलाई वञ्चित गरेको थिएँ भन्ने लाग्छ ।
यो त मेरो हिजोको कथा हो । आजको कथा भने फेरिएको छ । म त्यसै फेरिएको भने होइन । फोटोग्राफीमा रुचि बढेपश्चात् म बिस्तारै फेरिएँ । फोटोसँग मात्र होइन, प्रकृतिसँगको अभिरुचि पनि बढ्दै गयो । घरबाट निस्केर बाहिरको वातावरणमा रमाउन थालेँ । पहिले पैदल हिँड्न आनाकानी गर्ने म फुर्सद निकालेरै भए पनि हिँड्न थालेँ । र, सुरु भयो नयाँ सिलसिला । साथीसँग हिँड्दा म फेरि पछाडि छुट्न थालेँ । सबै अगाडि पुगिसक्दा म स–साना कुरामै अल्झिन थालेँ । एक्लै–एक्लै जंगल डुल्दा दंग पर्न थालेँ । अरूले यादसम्म नगर्ने मसिना कुराले मेरो ध्यान तानिदिन्थे । सानासाना कुरालाई तस्बिरमा कैद गर्न थालेँ । म्याक्रो फोटोग्राफीमा चासो बढ्यो । अझै चरा, कीरा र पुतलीमा विशेष लगाव हुन थाल्यो । पुतलीजस्ता साना जीवको तस्बिर कैद गर्न सहज त छैन । तर, तस्बिरले दिने आनन्द भने अद्वितीय छ । सानासाना जीवले गर्ने साना हर्कतले दिने खसीको पल भने ठूलो र अनौठो ! मेरा लागि फोटोग्राफी बृहत् वस्तुको सानो दृष्टि होइन, बरु सानो वस्तुप्रतिको बृहत् दृष्टि हो । सृष्टिमा भएका सानासाना कुरालाई मिहिन ढंगले हेर्नु हो र साना वस्तुको विशिष्ट गहनतालाई चाखपूर्वक नियाल्नु हो । क्षणभरमा बिलाइजाने पल कैद गरेर ती पलले दिने खुसी लम्याउनु पनि हो ।
सानासाना पुतलीमा देखिने विविधता, रङको गहनता हिरक्कलाग्दो हुन्छ । व्यस्त दैनिकीमा हामी साना–साना जीवलाई देखेनदेखै गरिदिन्छौँ । पुतली सुन्दर जीव हुन् । तर, पुतली सुन्दर जीव मात्र होइन । हामीले सामान्य हिसाबमा हेर्दा एक बोटबाट अर्को बोट, एक फूलबाट अर्को फूल डुल्ने पुतली । अझ एक छिन नअडिएर प्वाँख फरफराउँदै वा तातो ढुंगामा घाम तापेर बस्ने पुतली । परागशेचकको रूपमा मौरीजस्तै पुतलीले पनि समग्र खाद्य सुरक्षा, पोषण सूरक्षामा अहं भूमिका निर्वाह गर्छन् र कृषि पर्यावरणीय सेवामा योगदान गर्छन् । अझ भनौँ, दिगो विकासको शून्य भोकमरीको लक्ष्यमा यी मौरी र पुतलीजस्ता साना परागशेचकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् ।
बढ्दो सहरीकरण, कृषिमा बढ्दो बिषादीको प्रयोगले पुतलीजस्ता हितकारी जीवलाई नकारात्मक असर परिरहेको छ । वैज्ञानिकले पुतलीको व्यवहार परिवर्तनलाई स्थानीय वातावरणको अवस्था मापनको सूचकांकको रूपमा समेत लिन्छन् । पुतलीको भविष्य संकटमा छ । यसले हामीसम्म चुनौती ल्याउनेछ । हामीले अब पुतलीजस्ता साना तर पर्यावरणमा योगदान गर्ने जीवलाई चिन्न, चिनाउन र जोगाउन जरुरी छ । हामी ठूला–ठूला कुरा खोजिबस्छौँ, खुसी हुन पनि बृहत् कारण खोज्छौँ । तर, खुसीको स्वरूप साना–साना कुरामा हुन सक्छन् भन्ने याद गर्दैर्नौँ । मलाई लाग्छ, जिन्दगीमा साना कुरामा ठूलो खुसी खोज्ने प्रयास जारी राख्नुपर्छ । मैले त्यस्तै साना खुसी खोज्ने प्रयासलाई फोटोग्राफीमार्फत जीवन्त राख्ने कोसिस गरेको छु ।

कोसेली

याकको खोजीमा

- अर्जुन ढकाल
कालिञ्चोकको कुरी गाउँ

पूर्वी पहाड तथा हिमाली भेग नेपालीको खासै छनोटमा पर्ने गन्तव्य होइन । केही ठाउँविशेष र तीर्थाटनबाहेक । यसपटक भने हामीले त्यही क्षेत्रलाई गन्तव्य बनायौं ।
९ वर्षको छोरा इशानले स्कुल बिदा हुनुभन्दा धेरै अघिदेखि नै जाडो बिदामा कहाँ जाने भनेर सोधिरह्यो । योजनै नबनीकन जवाफ दिएको थिएँ, ‘एभरेस्ट, स्नो र याक हेर्न ।’
एभरेस्टको देश भने पनि धेरै नेपालीले ‘एभरेस्ट’ नजिकबाट देख्ने अवसर पाएका हुँदैनन् । यसका लागि सबैभन्दा रोचक त आठ हजारभन्दा अग्ला टन्नै हिमाल बोकेर बसेको महालंगुर रेन्ज हेर्न जानु नै हो, त्यो पनि सोलुखुम्बु, जहाँ अहिले आठ–दस घण्टाको यात्रामा सजिलै पुग्न सकिन्छ । सोलुखुम्बुको पातले, दोलखाको कालिञ्चोक वा सैलुङ जाँदा यो सम्भव थियो । हिमाली खर्कमा चौंरी र याकका गोठ पनि हेर्न पाइने । योजनामा पारिवारिक साथी जितेन्द्रजी र दीपाजी पनि जोडिनुभयो । हामी सकेसम्म अंग्रेजी नयाँ वर्षको अघिल्लो दिनसम्म घर फर्कन चाहन्थ्यौं । न्यु इयर इभमा होटलहरूमा हुने अत्यासलाग्दो भीडभाड र अव्यवस्थालाई छल्नु थियो ।

घमाइलो बिहान चालकसहित सात जनाको टोलीले काठमाडौं छाड्यो । शनिबारको बिहानै भए पनि काठमाडौंको प्रदूषण उस्तै थियो, उकुसमुकुस । हामी कोटेश्वरबाट पूर्व लाग्यौं । इँटाभट्टाको धूवाँले ढाकिएको भक्तपुर उठेकै थिएन । तर, धुलिखेलमा बिहानैदेखि चहलपहल देखियो ।
यात्रा भनेको हेर्नु र घुम्नु मात्रै होइन खानु र चाख्नु पनि हो । त्यसैले पहिलो छाक नै, काभ्रेको हसेरा अर्गानिक फार्म, पात्लेखेतमा खाने विचार गरियो । यसका सञ्चालक मित्र गोविन्दजीलाई खबर गर्‍यौं । टाढा जानु छ, त्यसैले पुग्नेबित्तिकै खाएर हिँड्न पाइयोस् भनेर खबर गरेको त उहाँहरू ‘फ्रेस’ नै खुवाउने भनेर नपकाई बस्नुभएछ । गणेश, लाङटाङ, जुगल र गौरीशंकर रेन्जका हिमाल हेर्दै हामीले बिहानी भोजन गर्‍यौं ।

बनेपा–बर्दिबास
यो सडक लामो समय लगाएर जापान सरकारले बनाइदिएको हो । पूर्वी नेपाल जाने सबैभन्दा छोटो र दोस्रो मूल सडक हुनुका कारण यसले नसोचेको सवारी चाप धान्नुपरिरहेको छ । सडक आफूमात्रै बन्दो रहेनछ, यसले नसोचेको ठाउँमा सहर र बस्तीको विकास गर्ने रहेछ । घुर्मी र खुर्कोट यस क्षेत्रका आशालाग्दा विकास हुँदै गएका नयाँ सहर हुन् ।
काभ्रेबाट झरेर सुनकोसीको किनारैकिनार पूर्व लागेर झन्डै दुई सय किलोमिटरको यात्रापछि जयरामघाटबाट ओखलढुंगा उकालियौं । साह्रै सुन्दर व्याख्या गरिएको कविता स्कुलमै पढेकाले होला, ओखलढुंगाको नामसँग अलि बढी अपेक्षा थियो । अझ एक रात त्यहीँ बस्ने पो हो कि भन्ने थियो । तर, हाम्रा चालकले त्यहाँको असुविधा सुनाउँदै नबसौं भन्न थाले ।
बाटोमा छिटपुट देखिने सार्वजनिक यातायातबाहेक खासै गाडीको चाप थिएन । राजमार्गमा सबैभन्दा बढी देखिनेचाहिँ स्कोरपियो, जिप र टिपर । रफ्तारमा हुइँकिइरहेका टिपरले संकेत दिन्थे, जलविद्युत् परियोजनार ढुंगागिट्टी–बालुवाको फस्टाउँदो व्यापार । यो क्षेत्रमा मात्रै होइन, अहिले देशैभरि बालुवाको व्यापार फस्टाएको छ ।
करिब तीन घण्टा घुमाउरो बाटो चढ्दै हामी साँझमा ओखलढुंगाबाट उकालो लाग्यौं । जति माथि लाग्थ्यौं, आकाश नजिकिन्थ्यो । पश्चिम आकाशमा हँसिया आकारको चन्द्रमा–दृश्य लोभलाग्दो थियो । आकाशभरि हजारौं तारा, सल्लाको जंगल, छेउमै थुप्रिएको हिउँ । हामी पातले पुग्यौं । पातले, जहाँबाट संसारका ६ वटा सबैभन्दा अग्ला हिमालमध्ये ४ वटा (एभरेस्ट, कञ्चनजंघा, ल्होत्से, मकालु) नजिकैबाट देख्न सकिन्छ । चोयु, सुन्दरी, आमादब्लम, पुमोरी, दूधकुण्ड, थामसेर्कु पनि देखिन्छन् ।
हामी पुग्दा अँध्यारो भइसकेको थियो । हिमाल देख्ने त कुरा भएन । होटल पुग्दा सिरसिर चिसो हावा चलेको थियो, एभरेस्टबाट आएजस्तो । अँगेनोको छेउमा बसेर आगो ताप्दै लेक नलागोस् भनेर लसुन र टिमुरको सुप, लोकल सागको तरकारी, मुलाको अचारसँगै खाना खायौं ।
कुरैकुरामा होटलकी आमाको उमेर सोध्यौं । दिउँसो बाटोबाट फोन गरेर होटल बुक गर्दा मायालु पाराले ‘बिस्तारै आऊ है बाबुछोरा’ भन्ने आमा त जम्मा ४३ वर्षकी रे ! देख्दा झन्डै ६ दशककी लाग्ने ‘आमा’ र आमालाई सहयोग गरिरहेका युवा आमाको छोरा होलान् भन्ने ठानेको त श्रीमान् पो रहेछन् !
सुत्ने कोठा भने बाहिर सिमेन्टको गारो र भित्र प्लाइउड ठोकेर बनाइएको थियो । काठ र सिसाका झ्याल टमक्क थिएनन्, चिसो हावा छिरिरहेको थियो ।
बिहानै हिमाल देखियो । होटलका मालिकले एभरेस्ट हेर्न आफ्नो किचनमा बोलाए । अँगेनोछेउ कुर्सी राख्दै भने, ‘यो ढोकाको चरबाट जुन हिमाल देखिन्छ, हो त्यही हो है एभरेस्ट ।’
घाम उदाउँदै गर्दा एभरेस्ट सबैभन्दा पहिला रातो देखिन थाल्यो । उनले अर्को उपाय पनि सुल्झाए, बिहान ९/१० बजेतिर जुन हिमालबाट धूवाँ उड्छ, त्यही हो एभरेस्ट । नभन्दै त्यस्तै देखियो । बिहानभरि हिउँ खेल्दै हामी हिमालको काखमा रमायौं ।

त्रिवेणी तीर्थस्थल
हाम्रो उद्देश्य तीर्थाटन गर्नु थिएन । हिमाल र पहाडि बाटोमा गाडी चलाउँदै प्रकृति र संस्कृतिसँग रम्नु थियो । तर, साँझ हलेसी पुगेपछि होटलका म्यानेजरले हलेसी महादेवको साँझको आरती हेर्न सुझाए । सामान्यतया नेपाली मन्दिरभन्दा धेरै सफा र व्यवस्थित हलेसी साँझको आरतीमा अनौठो दृश्य देखियो । भजनमा केही तिब्बती मूलका आनी, केही पहाडी मूलका मानिस र केही मधेसी मूलका महिला सँगसँगै नाचिरहेका थिए । कस्तो सांस्कृतिक र धार्मिक समावेशिता !
हलेसीलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्व धर्मावलम्बीहरूले दोस्रो लुम्बिनी अर्थात् मराफिक गुफा र किरात धर्मावलम्बीले आदिम भूमि ठान्छन् । नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा ‘होलैसुङ’ ले शासन गरेको इतिहास छ । उनैको नाम अपभ्रंस भएर हलेसी भएको हो भनिन्छ । त्यस्तै, बौद्धमार्गीहरूले महान् गुरु पद्मसम्भवले वर्षौं तपस्या गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमिको रूपमा सम्मान गर्छन् ।
अबको हाम्रो यात्रा खुलेको महालंगुर रेन्ज हेर्दै दोलखातिरको थियो । सुनकोसीको किनारैकिनार मन्थलीतिर लाग्यौं । यो बाटोभरि दायाँपट्टि सुनकोसी नदी बग्छ, घुर्मीबाटै । सुनकोसी तिव्बतको जांगजाङ्बो हिमतालबाट उत्पत्ति भएर नेपाल पस्छ । यसलाई बाह्रबिसे बजारमाथि भोटेकोसी र तल सुनकोसी भनिन्छ । ठूलो जलाधार क्षेत्र भएको यो नदीको माथि केही जोखिमपूर्ण हिमताल पनि रहेका छन् ।
रामेछापमा सुनकोसीको पारिपट्टि झन्डै उजाड देखिने पालतो बुट्यान भएका पहाड छन् । यी पहाडमा खासै बस्ती पनि छैन र जीवन कष्टकर छ । वास्तवमा यी पहाडहरूले सताब्दियौंदेखि पानीको समस्या भोग्दै आएका छन् । नेपालका वर्षा कम हुने भूभागमध्ये यो पनि एउटा हो । बर्खामा आउने पानी बोकेको बादल अग्लो महाभारत लेकमा ठोकिएर सीधै गौरीशंकर हिमालतिर पुग्छ । त्यसैले यहाँको ठूलो भूभागमा अन्यत्रको जस्तो ठूलो र नियमित वर्षा हुँदैन । अर्थात् वृष्टि छायामा पर्छ, मुस्ताङजस्तै ।

शान्त मन्थली
जिल्ला सदरमुकाम भए पनि संघीय संरचना र स्थानीय निकायमा अधिकार गएर होला सदरमुकामहरू अब केन्द्र कम र बस्ती बढी हुन थालेछन् ।
तामाकोसीको किनारैकिनारै उत्तर लागेर चरिकोटतिर उकालो लाग्यौं । त्यो दिनको बास बस्ने ठाउँको टुंगो लागेको थिएन । जाडो र समय हेरेर चरिकोट बस्ने वा कुरी गाउँ, छलफल गर्दै थियौं । गाडीचालक अनुभवी र त्यो ठाँउमा परिचित रहेछन् । उनले कुरी गाउँ नै जाने सल्लाह दिए । फोन गरेर होटल पनि बुक गरिदिए ।
हामी साँझको सुनौलो गौरीशंकर हिमाल हेर्दै उकालो लाग्यौं ।
झन्डै साँझ ७ बजे कालिञ्चोकको कुरी गाउँ पुगियो । हिउँले ढपक्कै ढाकेको कुरी नयाँ वर्ष स्वागत गर्न झिलिमिली थियो । कुनै युरोपियन सहरजस्तो । यहाँका अधिकाशं होटल निर्माणाधीन छन् । गत साल मात्रै सुरु भएको केबुलकारपछि बढेको पर्यटक चापले यस बर्षभित्रै दर्जनौं होटल बन्न थालेका छन् । सामुदायिक वनसँग लिज लिएर बनाएका होटलका कालीगढ भने सबै इलामतिरबाट आएका रहेछन् ।

कञ्चन कालिञ्चोक
काठमाडौंबाट करिब डेढ सय किलोमिटर टाढा रहेको यो सुन्दर ठाउँ हिउँदमा युवायुवतीका लागि हिउँ खेल्ने र गर्मीमा सबै रमाउन मिल्ने स्टेसन हुन सक्छ । तर, बाटो र होटलको सुविधाले धेरैलाई फेरि जाऊँजस्तो बनाउँदैन । झट्ट सम्झिँदा अव्यवस्थित ठमेलजस्तै लाग्छ ।
बाहिर रङ र डिजाइन राम्रो भए पनि कोठामा सुबिधा भने थोरै थिए । राम्रो भनिएको होटलमा पनि भित्ताबाट हावा पस्ने । पानी जमेको बाथरुम, भिजेका कार्पेट र सिसा झरेका झ्याल । पैसाअनुसारको सुविधाजनक थिएन । जति सुन्दर ठाउँ भए पनि, होटलको असुविधाले बसाइ लम्ब्याउन मन लाग्दो रहेनछ ।
बिहानै लाग्ने न्यानो घामले न्यानो बढ्दै गयो । पाँच मिनेटजतिको केबुलकारबाट जब ३८४२ मिटरमाथिको चुचुरोमा पुगिन्छ, त्यहाँबाट मनोरम दृश्य वर्णनै गर्ने नसकिने । चुचुरामै कालिञ्चोकको मन्दिर पनि छ ।
मन्दिरको गेटैमा प्लास्टिकको झोलामा पूजा सामग्री बिक्री हुन्छ, त्यसको १० मिटर पर मन्दिरमा प्लास्टिक निषेध भनेर समितिको मान्छेले रोक्छ र विकल्पमा २० रुपैयाँमा प्लास्टिककै टोकरी भाडामा दिन्छ । धर्मको नाममा व्यापार र अव्यवस्थाले केही निराश बनाउँछ ।
कुरी गाउँ झरेपछि छोराछोरीहरूले फेरि हिउँ खेले । अब हामीले भेट्न बाँकी थियो— चौंरी र याक । सामुदायिक वनसँगको विवाद, चरन अभाव र यातायातको विस्तारले चौंरीपालन घटिरहेको छ । सोलुखुम्बुमा सोध्दा, अहिले चौंरी पाल्ने चलन घटेकोले खासै भेटिँदैनन्, भएका पनि जाडोले गर्दा तल खर्कतिर होलान् भनियो । यस्तै उत्तर आयो कालिञ्चोकमा पनि । अब फर्किने बेला चरिकोटमाथिको खर्कमा वा मुडेदेखि ठिक्क पारिको सैलुङ लेकमा पसेर चौंरी हेर्ने योजना बनायौँ ।
फर्किंदा, चरिकोटमाथिको खर्कमा ‘मिक्स’ चौंरी त भेटियो चर्दै गरेको तर बच्चाहरू निदाएकाले उठाउन मन लागेन । चौंरी गोठ र सैलुङ लेकको यात्रा अब अर्कोपटकलाई भन्दै नयाँ वर्ष स्वागत गर्न झन्डै मध्यरातमा घर आइपुगियो । यो रोमाञ्चक यात्रामा आँखाले एभरेस्ट चियाइयो । स्नोको अद्भुत स्पर्श गरियो । तर, याकको खोजी भने अधुरै रह्यो ।

Page 21
कोसेली

मोन्टगोमेरीको त्यो बस

- सरिता तिवारी

डिपार्टमेन्टल स्टोरको दिनभरको जागिर सकेपछि घर फर्कँदै थिइन् उनी । सधैंझैं मोन्टगोमेरी–नगर बसमा उक्लिइन् । ड्राइभरको सिटसँगै रहेको पैसा तिर्ने मेसिनमा सिक्का खसालेर भाडा तिरिन् र बसको आधाउधी भाग जहाँ ‘कलर्ड’ लेखेको चिह्न राखिएको थियो, त्योभन्दा ठीक पछिल्लो सिटमा बसिन् ।
त्यतिबेला मोन्टगोमेरी नगर प्रशासनको नियम र प्रचलित अमेरिकी कानुनअनुसार, मान्छेका छालाको रङका आधारमा हरेक सार्वजनिक ठाउँहरू विभाजित थिए । सार्वजनिक धारा, शौचालय, अस्पतालका क्यु आदिदेखि बसका सिटसमेत ‘ह्वाइट’ र ‘कलर्ड’ भनी छुट्याइएका हुन्थे । गोराहरू जन्मजात विशेषाधिकार प्राप्त थिए भने ‘कलर्ड’ भनिने कालो छाला भएका नागरिकहरू अक्सर सार्वजनिक अपमानको सिकार भैरहन्थे ।
तीनओटा बिसौनी कटेपछि एउटा सिनेमाहलअगाडिको स्टेसनमा बस रोकियो ।
बसमा केही गोराहरू चढे तर उनीहरू बस्न छुट्याइएका अघिल्लो आधा भागका सिट सबै भरिएका थिए । गोराहरू उभिइरहेको र ‘कलर्ड’ भनिएकाहरू बसिरहेको दृश्य गोरो छाला भएको ड्राइभरका लागि सह्य भएन । तिनलाई बसाउन ड्राइभरले ‘कलर्ड’ लेखिएको बोर्ड सारेर उनी बसेको सिटपछिल्तिर पुर्‍याइदियो र सिटमा बसिरहेका चार जनालाई उठ्न भन्यो । अरू तीन जना चुपचाप उठेर उभिए तर उनी उठ्न मानिनन् । बस ड्राइभरले तुरुन्तै प्रहरी बोलायो । उनलाई कानुन मिचेको आरोपमा उत्तिखेरै पक्राउ गरियो ।
कहानी त्यहीँदेखि थालिन्छ ।

रोजा पार्क्स ! अमेरिकाको नागरिक आन्दोलनकी ‘हिरो’ ! रंगभेदविरोधी प्रतिरोधकी सशक्त प्रतीक ।
मोन्टगोमेरीको त्यो बसभित्र १९५५ को डिसेम्बर १ मा जे भयो, त्यो इतिहास रेकर्ड गर्ने दिन साबित भयो । बसमा सवार रोजा पाकर््सले गोरा बस ड्राइभरको अपमानको डटेर प्रतिकार गर्नु र रोजाविरुद्ध कानुन अवज्ञाको मुद्दा लाग्नु नागरिक प्रतिकारका लागि विस्फोटक घटना बन्यो । दास प्रथा उन्मूलन (१८६५) र नागरिक अधिकार ऐन (१८६६) घोषणा भएको झन्डै सय वर्ष बित्न लागेको थियो । तर, कालो छाला हुने मान्छेमाथि गरिने घृणा र हिंसामा तात्त्विक अन्तर अनुभव हुन सकेको थिएन । लामो समयदेखि ‘बराबरी तर फरक’ ढाँचाको गोरा प्रभुत्वकै कानुनको अभ्यासमा कालो वर्णका मानिसहरूको चेतना जति गहिरोसँग थिलथिलो थियो त्यो अब आगो भएर, आँधी भएर कुनै न कुनै कारण बाहिर आउने अवस्था थियो । मोन्टगोमेरीको त्यो बसभित्रको अवज्ञा एउटा निर्णायक विद्रोहको कारण भैदियो ।
रोजा जमानतमा छुटिन्, दस डलर जरिवाना र चार डलर कोर्ट फी तिरेर ।
तर, उनलाई पक्राउ गरेलगत्तै सुरु भएको आन्दोलनले थामिने नाम लिएन । कानुनका कागजमा दासमोचन भए पनि ब्यवहारमा श्वेत आधिपत्यको क्रूर हलाहल पिएर बाँचेका मान्छेहरू बारुदजस्ता बने । आन्दोलन शान्तिपूर्ण थियो तर त्यसको मोहोरी यस्तरी मडारियो, सार्वजनिक यातायातलगायत कुनै पनि ठाउँमा छालाको रङका आधारमा भेदभाव गर्न नपाइने भनी सर्वोच्च अदालतले गरेको फैसलापछि मात्रै त्यो शान्त भयो ।
त्यसबीचको ३८१ दिनसम्म प्रतिरोधस्वरूप काला समुदायका मानिसहरूले मन्टगोमेरीका कुनै पनि नगर बस चढेनन् । काममा निस्कँदा पैदलै हिँडे या भैपरी आउँदा ट्याक्सीको उपयोग गरे । यो आन्दोलन ‘मोन्टगोमेरी बस बहिष्कार’ का नामले चर्चित छ, जसको नेतृत्व मार्टिन लुथर किङ (जुनियर) ले गरेका थिए । यसलाई रंगभेदी पृथकताको कानुनविरुद्ध सबैभन्दा ठूलो र सफल आन्दोलन मानिन्छ ।
आन्दोलन चलिरहँदा अफ्रिकी मूलका अमेरिकीले अविवेकी, हिंस्रक गोराहरूबाट झनै सास्ती पाए । सहरको ठूलो जनसंख्याले बस बहिष्कार गरेपछि मोन्टगोमेरीका आधा बढी नगर बसहरू ग्यारेजमा थन्किने अवस्था आयो । व्यवसायीहरूले ठूलो मात्रामा वित्तीय क्षति बेहोर्नुपर्‍यो । यसबाट क्रुद्ध गोराहरू भौतिक हिंसामा उत्रिन थाले । कालाहरूको सम्मानका लागि नागरिक अधिकार आन्दोलनको नेतृत्व गरेका मार्टिन लुथर किङ (जुनियर) र एडवर्ड निक्सनका घरमा बम फ्याँकियो । काला समुदायले सञ्चालन गरेका चर्चहरू जलाइए । तिनले चलाएका नगर ट्याक्सीका बिमा खारेज गरिए । कैयौं काला मानिसहरू विभिन्न निहुँमा थुनामा परे ।
रोजालाई लागेको कानुन अवहेलनाको मुद्दा प्रारम्भिक अदालत हुँदै सर्वोच्चसम्मै पुग्यो । तल्लो अदालतले नै जातीय पृथकताका सबै कानुनहरूलाई असंवैधानिक भनेर फैसला गरे पनि नगरपालिका त्यसलाई मान्न तयार भएन । आखिरमा १९५६ को नोभेम्बर १३ मा सर्वोच्चले तल्लो अदालतको फैसलाकै समर्थन गर्दै सार्वजनिक यातायातमा हुने विभेदलाई संविधानविपरीत घोषणा गरिदियो ।
यो मुद्दाको परिणामले रंगभेदी आन्दोलनलाई एउटा तार्किक नतिजा दिनेवाला त थियो तर रोजाको जीवन अब ब्यक्तिगत मात्रै रहेन । त्यो आन्दोलनबाट चुकाउनुपरेको सार्वजनिक मूल्यले रोजालाई अकल्पनीय दुःख र संघर्षको कुण्डमा धकेलिदियो । उनको छँदाखाँदाको जागिर चैट् मात्रै भएन मोन्टगोमेरी सहरमा बस्न–खानै नसक्ने गरी धम्की र त्रासको सामना गर्नुपर्‍यो । उनका श्रीमान्ले समेत जागिरबाट हात धुनुपर्‍यो ।
‘पब्लिक हिरोइजम’ को मूल्यमा तिर्नुपरेको व्यक्तिगत तनाब कतिसम्म पीडादायी भयो भने उनी जन्मेको, बाल्यकालदेखि बस्दै आएको अलाबामा राज्यको मोन्टगोमेरी छोडेर सपरिवार मिचिगनको डेट्रोइटमा बसाईं नै सरिन् । त्यहाँ फेरि उनको जागिरे जीवन सुरु त भयो तर उनको सार्वजनिक व्यक्तित्वका कारण त्यहाँको बसाइ पनि कम बोझिलो भएन । दैनिक गुजाराको जिन्दगी संकटमा पर्‍यो तर आफूले गरेको अवज्ञाकै कारण चुलिएको प्रतिरोध र त्यसले दिएको नतिजाले उनलाई निराश हुन, लत्रिन दिएन । नागरिक अधिकारका बाँकी संघर्षहरूमा अहर्निश लड्दै रोजा ९२ वर्षसम्म बाँचिन् । ‘मेडल अफ फ्रिडम’ सहित दर्जनौं पुरस्कार र सयौं सम्मान कार्यक्रममार्फत अमेरिकी समाजले उनलाई जीवित छँदै ठूलो कृतज्ञता प्रकट गर्‍यो । अमेरिकी नागरिक आन्दोलनकी पूववर्ती बुलन्द क्रान्तिकारी ह्यारियट टबम्यानसँगै रोजा ‘मदर अफ फ्रिडम’ उपाधिले समेत सम्मानित भइन् ।
उनले रंगभेदविरोधी आन्दोलनमा बिताएका क्षणहरूलाई बुनेर १९९२ मा ‘माई स्टोरी’ नामक प्रेरणादायी आत्मकथा लेखेकी छन् । उनको अर्को संस्मरणसंग्रह पनि प्रकाशित छ , ‘क्वाइट स्ट्रेन्थ’ । उनीमाथि थुप्रै किताब, जीवनी लेखिएका छन् र ती पाठ्यक्रममा समेत राखिएका छन् । उनको जीवनगाथामा अनेक गीत गाइएका छन्, सिनेमा बनेका छन् । अनगिन्ती भिडियो र डकुमेन्ट्री, बालबालिकाका लागि समेत उपयोगी एनिमेटेड फिल्म बनाइएका छन् । उनीसँग जोडिएका स्मृति संकलन गरेर संग्रहालय निर्माण गरिएको छ । पार्क र स्मारक बनाइएका छन् । सडकहरू नामकरण गरिएका छन् ।
२००५ को अक्टोबर २४ मा उनको निधन भयो । मिचिगन राज्यले पचासौं हजारको संख्यामा जम्मा भएका प्रशंसकलाई साक्षी राखेर राष्ट्रिय सलामीसहित उनको अन्त्येष्टि सम्पन्न गर्‍यो । साधारण जिन्दगी, साधारण दैनिकीको एउटा घटनाले नयाँ मोड दिएको उनको जीवन अधिकारसचेत, हक्की र निरन्तर प्रतिरोधी मानिसको उदाहरण हो । उनलाई स्मरण गर्दै ओजस्वी लेखक/अधिकारकर्मी माया एन्जेलोले भनेकी छन्, ‘रोजा पार्क्स अप्रत्याशित तर महान आन्दोलनकी सूत्रधार थिइन् । उनी त्यसैका लागि जन्मेकी थिइन् सायद । उनको त्यो दिनको प्रतिरोधका कारण हामीले फरक देश ,फरक संसार पाएका छौं ।’

रोजा पार्क्सबिना योजना अचानकसँग इतिहास निर्माणको निर्णायक बन्न पुगिन् । एक साँझको एउटा अस्वीकार, एउटा ‘नो’, एउटा हठले उनको जिन्दगीलाई अद्भुत मोडतर्फ नडोर्‍याइदिएको भए उनी एक आम कामकाजी महिलाका रूपमै बाँच्थिन् होला । गुमनाम भएरै बितिजान्थिन् होला । यो अनुमानको मात्रै कुरा हो । हो, ४२ वर्षे उमेरसम्म उनी केवल एउटा नाम थिइन् । तर, त्यो नामको आत्माभित्र प्रतिकारको बारुद हुर्कंदो थियो । मोन्टगोमेरीको त्यो बस, त्यो घटना सलाईको काँटी भएर आयो ।
त्यसपछि उनको नाम, नाम मात्रै रहेन । अधिकार आन्दोलनको शानदार विम्ब भयो ।
बिर्सनु हुँदैन, मानिसमा प्रतिरोधको चेतना यत्तिकै र सजिलैसँग आउँदैन । उनीभित्र बाल्यकालदेखि नै रंगभेदविरोधी हठ र अस्वीकारको आँधी थियो, जुन कालान्तरमा एउटा विशाल आन्दोलनको बीउ बन्न पुग्यो ।
१९१३ को फेब्रुअरी ४ मा जन्मेकी रोजा लुइस म्याक्लेका (बिबाहपछि पार्क्स) पूर्वज कुनै बेला दास थिए । हृदयको अतल गहिराइसम्म पुगेर डामेको दासत्वविरुद्ध कहिले अरुसँग र कहिले आफैँसँग लड्दै तिनी हुर्किइन् । सानी छँदा सधैंजसो बिरामी भैरहने हुनाले रोजा खिनाउरी फुच्ची थिइन् । तिनलाई जो कोही गोरा केटाकेटीले सजिलै घचेट्थे, लडाइदिन्थे र खिसिट्युरी गरेर भाग्थे । फुच्ची, लिखुरी भए पनि उनी त्यसरी आफूलाई घचेट्नेविरुद्ध प्रतिकार गर्न, बदला लिइहाल्न चाहन्थिन् र गर्थिन् पनि । त्यसो गर्दा कहिलेकाहीं गोरा केटाकेटीका बाबुआमाको समेत गाली खान्थिन् तर यो कुराले उनलाई झन्झन् प्रतिबद्ध र ज्याद्रो बनाइदिन्थ्यो ।
बा जेम्स म्याक्ले र आमा लियोनाको सम्बन्धविच्छेद हुँदा उनी जम्मा दुई वर्षकी थिइन् । सानो भाइ र उनलाई लिएर आमा मामाघर बस्न आइन् । अलाबामालगायत अमेरिकाका प्रायः सबै राज्यमा पूर्वदासका परिवारहरूलाई छुट्टै कोलोनीमा बस्ने ब्यवस्था गरिएको थियो । उनको मामाघर पनि ‘कलर्ड’ कोलोनीमै थियो । मावली हजुरबा समानताका लागि छाती फुकाएर लड्ने हक्की मानिस थिए । हजुरबा र हजुरामाको अपार माया र पारिवारिक शिक्षा पाएर हुर्कने संयोगले उनलाई रंगभेद र दासप्रथाको क्रूर परम्परा बुझ्ने अवसर दियो । बेलाबेलामा उनको घर अगाडिको बाटो हुँदै अतिवादी गोराहरूको समूह मार्च गर्दै आउँथ्यो । ‘ट्रिपल के’ (कु क्लुक्स क्लान) भनिने त्यो समूहको मुख्य निसाना निग्रो र आदिवासी अमेरिकी हुन्थे । घृणा, हिंसा र द्वेषले भरिएका ती अति–पन्थी हुल्डबाजहरूको मार्च आउँदा रोजाका हजुरबा जहिल्यै घरको गेटमा छाती तानेर उभिएका हुन्थे र साथमा हुन्थ्यो बन्दुक । यस्तो दृश्यले रोजालाई सानै उमेरदेखि नै हक्की र निर्भयी बन्ने चेतना दिएको थियो ।
१६१९ मा एउटा डच पानीजहाजले बोकेर ल्याएका २० जना अफ्रिकीको कथाबाट थालिएको अमेरिकाको दास प्रथालाई १८६५ मा अमेरिकी संविधानको १३ औं संशोधनले औपचारिक रूपमा विराम लगाइदिएको त थियो तर विभेदकारी कानुनहरूको दबदबा कायमै थियो । काला र गोरा बच्चाहरू पढ्ने स्कुल छुट्टै थिए । गोरा विद्यार्थीका लागि बस उपलब्ध गराइन्थ्यो तर कालो छाला भएका नानीहरू हिँडेरै मिलौं टाढाको स्कुल पुग्नुपर्थ्यो । यो विभेद झेल्दै माध्यमिक शिक्षासम्म पुगेकी रोजाको दिमाग बाल्यकालदेखि नै अनेकौं प्रश्न र प्रतिरोधले भरिएको थियो ।
सार्वजनिक सुविधा लिने ठाउँमा जहाँतहीँ झुन्ड्याइएका ‘हृवाइट’ र ‘कलर्ड’ लेखिएका बोर्ड देख्दा रङभेदको भाषाले भयंकर अल्मलिन्थिन् उनी । एउटा वार्तामा उनले भनेकी छन्, ‘सानी छँदा सार्वजनिक धारामा अलगअलग सेतो र रंगीन पानी खस्ने होला भनेर म घण्टौं कुरेर धाराको पानी हेर्थें तर पानीको रङ त एउटै हुँदोरहेछ !’
१९३२ मा उनले बिहे गरिन् रेमन्ड पार्कसँग । अत्यन्तै उदार र मायालु रेमन्डले रोजालाई उच्च शिक्षाका लागि मात्रै प्रेरित गरेनन् आफू सम्मिलित नागरिक अधिकार आन्दोलन ‘एनएएसीपी’ सँग समेत जोडे । त्यही आन्दोलन, जसमा पछि मार्टिन लुथर किङ (जुनियर) पनि जोडिए । १९०९ मा स्थापित ‘एनएएसीपी’ को मुख्य उद्देश्य थियो राजनीतिक, शैक्षिक, आर्थिक, सामाजिक समानताको हकका लागि लड्नु । रोजा यो संगठनको क्रियाशील कार्यकर्ता बनिन् ।
मोन्टगोमेरी नगर–बसभित्र उनले गरेको प्रतिवादकै कारण कालाहरूको मुक्ति आन्दोलनले निर्णायक गति लिएको जति साँचो हो, उनको त्यो प्रतिकार एकाएक र आकस्मिक मात्रै पनि थिएन भन्ने पनि त्यत्तिकै साँचो हो । यो घटनाले इतिहासको निर्माण गर्न ठूलो नाम, ठूलो इरादा बोकेको, धेरै पढालेखा मान्छे नै हुनुपर्छ भन्ने कुरालाई इन्कार गर्छ । हामीभित्र जीवित प्रश्नको अस्तित्व छ भने, हामीभित्र अन्यायको प्रतिकार गर्ने हठ छ भने, आइपर्दा जस्तोसुकै हन्डर खान सक्छु भन्ने दह्रो संकल्प छ भने त्यस्तो जोसुकै पनि व्यक्ति इतिहास बदल्ने शानदार कारण बन्न सक्छ । यो कुरा रोजा पार्क्सको नकार र प्रतिरोधले बताउँछ ।

Page 22
कोसेली

‘नेपालीय एकता दिवस’

सन्दर्भ : फागुन ७
- सीके लाल

काठमाडौंका हुनेखानेहरूको चाहना एवं नैराश्यता मिसिएको प्रश्न ‘नेपाल किन बनेन ?’ सन् २००८ सम्म जान्नेसुन्नेहरूको प्रिय प्रसंग हुने गर्दथ्यो । लगभग आधा दशकसम्म त्यस्तो बहसलाई ‘नयाँ नेपाल’ निर्माण गर्ने निरूपणले समेत विस्थापित गर्न सकेन । सन् २०१३ को आम निर्वाचनबाट गठित व्यवस्थापिका संसद्ले मधेसी, जनजाति, दलित एवं अन्य उत्पीडित समुदायका आकांक्षाहरूलाई मुल्तवीमा राखिदिएपछि ‘नयाँ नेपाल’ शब्दावली उच्चाटलाग्दो बन्न पुग्यो । खस–आर्य भनिने संवैधानिक प्रवर्गको नृजातीय राष्ट्रवाद (एथ्नो–नेसनलिज्म) सन् २०१५ मा जारी गरिएको संविधानको अन्तर्निहित मूलभाव हो । त्यसपछि राजनीतिक मुद्दाहरूको निर्क्योल भइसकेको भाष्यले बजार पिटेको छ । सन् २०१७ को संसदीय निर्वाचनले समृद्धिको सपनालाई आधारभूत मान्यताका रूपमा अगाडि सारेको छ । तर, यस्ता सबै आडम्बरपूर्ण चर्चाहरूले अक्सर ओझेलमा पार्ने कुरा के हो भने सन् १९५१ मा परिकल्पना गरिएको ‘नेपालीय’ पहिचान निर्माणको कार्यभारलाई उपेक्षा गरेर नेपालको अर्थराजनीतिका अन्य कुनै पनि प्रश्नको उपयुक्त उत्तर भेट्टाउन सकिँदैन ।
चलनचल्तीको भाषामा ‘सात सालको क्रान्ति’ भनिए पनि सन् १९५१ को परिवर्तनलाई युगान्तकारी नै भनिहाल्न गाह्रो छ । बेलायतको निर्देशन राणा शासकहरूका लागि अधिपतिको कार्यादेशसरह रहने गरेको भए तापनि औपचारिक तवरमा नेपाललाई बाह्य शक्तिको उपनिवेश नभएर स्वतन्त्र राष्ट्रको दर्जा प्राप्त थियो । कहिल्यै परतन्त्र नरहेको मुलुक स्वतन्त्र भइराख्नुपर्ने कुरा भएन । त्यसैले नेपालमा ‘स्वतन्त्रता सेनानी’ भन्ने प्रवर्ग स्वतः अतिरञ्जित हो । प्रायः प्रयोग गरिने ‘जहानियाँ शासनको अन्त’ भनिने व्याख्या पनि वस्तुपरक लाग्दैन । शासकीय अधिकार राणाहरूबाट तिनका शाह थरधारी ज्वाइँ–भान्जामा हस्तान्तरित हुनुलाई ‘परिवारवादको समाप्ति’ कतैबाट पनि भन्न मिल्दैन । अपवादबाहेक, फौजमा उच्च वर्गका ठकुरी एवं क्षेत्री जातीय समूहका पदाधिकारीहरूले आदेश दिने तथा जनजाति बाहुल्यका सिपाहीहरूले आज्ञापालन गर्ने अवस्था त धेरै पछिसम्म पनि कायम थियो । निजामतीतर्फ पनि ‘सात साल’ पछि तात्त्विक परिवर्तन भएन । शासकका भाइ–भारदार, गुरु–पुरोहित, हुक्के–बैठके एवं अन्य दरबारियाका सन्तान सुब्बा–खरदार हुँदै माथिल्लो पदसम्म पुग्थे । दरबारका केही सीमित बफादार परिवारबाहेक तल्लो ओहोदामा नेपाल उपत्यकाका रैथानेहरूले ठाउँ पाउँथे । सात सालले जोस जगाएको भने सत्तावृत्तबाट बहिष्कृतसरह रहेको तराई–मधेसमा हो । राहदानी बेगर आफ्नै देशको राजधानी छिर्न पाउने अधिकार पाउनु अहिले सामान्यजस्तो लागे पनि सन् १९५१ मा त्यो ऐतिहासिक परिघटना थियो ।

प्रचलित यथार्थ
सात साल अझै पनि कतिपय अग्रज नेपालीहरूको सम्झनामै छ । त्यसैले त्यस
चिह्नक वर्षलाई सही अर्थमा इतिहास भनि हाल्न मिल्दैन । प्रभावका दृष्टिकोणले भने ‘फागुन सात’ लाई ‘ऐतिहासिक’ भन्न हच्किनुपर्दैन । जतिसुकै वस्तुनिष्ठताको दाी गरिए पनि इतिहास तिथिमितिको अभिलेख मात्र नभएर त्यसमा घटना एवं असरको आत्मपरक लेखाजोखासमेत हुने हुँदा विगतको वर्णन ग्रहणबोधको (पर्सेप्सनल) क्षेत्र हो । इतिहासलाई अनुभव, विचारधारा, सांस्कृतिक पूर्वाग्रह एवं आस्थाको आलोकमा अर्थ्याउनुपर्ने हुन्छ । त्यसपछि साक्ष एवं प्रमाण स्थिर नरहेर गतिशील बन्न पुग्छन् ।
घटना उही हो तर एकथरी सम्भ्रान्तहरूका लागि सात साल समाजमा स्थापित मूल्य एवं मान्यताको अन्त भएर आयो । आधुनिकताका अग्रदूतहरू विधर्मी एवं पथभ्रष्ट कहलिए तथा तिनलाई होच्याउन ‘तेरा घरमा कांग्रेस पसोस्’ भन्ने ‘श्राप’ प्रचलित भयो । भारतीय सेनाका अवकाशप्राप्त सिपाही एवं आजाद हिन्द फौज विघटन भएपछि स्वदेशलाई मुक्त गर्न बन्दुक उठाएका लडाकाहरूका लागि मुक्ति सेना नभइदिएको भए राणा शासनको समाप्ति सम्भव हुन्थेन । कतिपय दरबारियाहरू भने फागुन सातको सफलताको श्रेय तत्कालीन भारतीय राजदूत सर सीपीएन सिंह एवं उनको तथाकथित कुचक्रलाई दिने गर्छन् । राजभक्तहरूका नजरमा राजा त्रिभुवनले राजगद्दी दाउमा लगाएकाले नैं उनी नारायणहिटी दरबाररूपी ‘सुनको पिँजडा’ बाट मुक्त हुन सकेका थिए । सत्यताको अंश त्यस्ता सबै एकाकी व्याख्याहरूमा छ । मधेसमा भने सात साललाई ‘नेपालीय’ बन्ने प्रस्थानविन्दुका रूपमा लिइन्छ । त्यसका पछाडि राजनीतिक मात्र नभएर सामाजिक एवं सांस्कृतिक कारण पनि छन् ।
काठमाडौं उपत्यकाका सम्भ्रान्तहरू नेपाल कहिल्यै परतन्त्र नभएको इतिहासमा गौरव गर्छन् । मधेसमा भने त्यस्तो थिएन । मिथिला क्षेत्रमा दशगजा पारिकालाई ‘मगुलनियाँ’ भन्ने चलन थियो । कतैकतै अझैसम्म त्यस्तो शब्दावली प्रचलनमा छ । मुगल शासनसँग जोडएिको ‘मुग्लान’ नेपाली भाषामा विदेश शब्दको पर्याय बन्न पुगेको छ । दशगजावारिकालाई पारि बस्ने नातागोता एवं साथीभाइले ‘सरहदीया’ भन्ने गर्थे । उर्दूको सरहद अर्थात् सीमान्तपछिको बाहिरी इलाका अर्थ दिने शब्द मैथिलीमा आइपुग्दासम्म अभद्रताको निरूपक बनिसकेको थियो । पारि नातागोताकहाँ पाहुना लाग्न जाने मधेसीलाई उताकाले जिस्क्याउँथे– ‘सरहदीया भुच्च, असोरे में सुत्त, ओछाने पर मुत्त’ । कहिल्यै बेलायतको उपनिवेश नहुनु मधेसीका लागि गौरवको साटो ग्लानिको रूपमा देखिने गर्थ्यो । स्कुल, कलेज, अस्पताल एवं बजार जम्मै पारि थिए । वारि पुलिसले हिर्काउने डन्डाबाहेक अरू केही थिएन । सात सालले मधेसको सामान्यजनमा समेत ‘अब भने केही हुने’ आस जगाएको थियो । दशगजावारि लहरै स्कुल खुल्न सुरु भएको सात सालपछि मात्रै हो । श्रमजीवीहरू रोजीरोटीका लागि ‘गोहाटी–कलकत्ता’ जानुको साटो मोरङतिर लाग्ने प्रचलन पनि त्यसपछि केही कालसम्म चलेको थियो । कोसी नदीपारि पहाडवाट तल झरेकाहरूको हालीमुहाली कायम भएपछि त्यो विकल्प पनि दिगो रहन सकेन ।
रोजरोटीको खोजीमा मुग्लान पस्ने श्रमजीवी मात्र होइन, दशगजापारिपट्टि आफ्नो हैसियतअनुसारको रोटीबेटीको सम्बन्ध स्थापित गर्न चाहने मधेसका सम्भ्रान्तहरूको हालत पनि खासै उम्दा थिएन । पिपराका ‘बाबु–भैया’ भनिने मिश्रा परिवारबारे महोत्तरीतिर केही दशकअगाडिसम्म एउटा प्रकरण प्रचलित थियो । पहाडतिरजस्तो मधेसमा केटी मााग्न जाने चलन छैन । लगभग समान सामाजिक स्थिति भएका सजातीय परिवारहरूमा योग्य वर खोज्दै हिँड्नुपर्छ । पिपराका बाबुहरूसरहका परिवार सरहदमा खासै नभएकाले तिनलाई सम्भाव्यसम्बन्धीको खोजीमा मुग्लानतिर लाग्नुपर्ने बाध्यता थियो । भनिन्छ, एकपटक त्यस्तै एउटा अभियानका क्रममा गयातिरका एउटा जमिनदारले पिपराका बाबुलाई भने अरे, ‘जति नैं सम्पति भए पनि तपाईंहरू नेपालमा राजनीतिक रूपमा राणाका रैती, सामाजिक तवरले पहाडियाभन्दा दोयम एवं सांस्कृतिक दर्जामा त्यहाँको राजाका दास हुनुहुन्छ । हाम्रो हैसियत मिल्दैन ।’ किंवदन्तीअनुसार, त्यसपछि बाबुहरूले इज्जतकै लागि भए पनि पारिपट्टि पनि एउटा जमिनदारी खरिद गरे अरे । तर, दीर्घकालीन समाधान समानस्तरको ‘नेपालीय’ बन्नु मात्र हुन सक्थ्यो । सन् १९५०–५१ को आन्दोलनमा पिपराका बाबुहरू खुलेरै लागेका थिए । डाक्टरहरूबाट मृत्युको सुनिश्चितता गराएर मात्र सुन्दरीजल कारागारबाट मुक्त गरिएका रामनारायण मिश्र पिपराकै थिए । उनी ‘नेपालीय’ हुनुको गौरव हासिल गर्न नपाउँदै सहिद भए । आस्था र आस भने जीवनपर्यन्त छाडेनन् ।

निलम्बित मुक्ति
सत्ययुगका शासकहरू मात्र वचनका पक्का हुन्थे होलान् । राजा त्रिभुवनले वाचा गरेको संविधानसभाको निर्वाचन उनको नाति पुस्तासम्म पनि पूरा नहुने भएपछि शाह राजवंशलाई नैं सत्ताच्यूतलाई हुनु पर्ने अवस्था सिर्जना भयो । सात सालका सपनाहरूलाई राजा महेन्द्रले कैद गरे । कठोर कारावासबाट असाध्य रोगले ग्रस्त भएर काशीवासमा पुगेका रामनारायण मिश्रले मृत्यु वरण गर्नुअगाडि पिपराकै मित्रवत् परिवारिक सदस्य रामचन्द्र मिश्रलाई पत्र लेखे, ‘आशिकों का जनाजा हैं, जरा शान से निकले !’ तत्कालीन सत्ताको बक्रदृष्टि हुँदाहुँदै रामनारायण बाबुको अन्त्येष्टि जनकपुरको गंगासागर तटमा ‘शान’ सँगै सम्पन्न भयो । उनी प्रजातन्त्रका ‘आशिक’ जो थिए । उनको पुस्ताको मधेसी प्रजातन्त्र सेनानीका आकांक्षाहरू भने अझैसम्म पनि दीर्घ निलम्बित अवस्थामै छन् ।
राजा त्रिभुवनको वाचालाई उनको पुत्रले तोडेका थिए । गणतन्त्र घोषणाको सन्दर्भमा तत्कालीन राष्ट्र एवं सरकारप्रमुख गिरिजाप्रसाद कोइरालाले मधेसीहरूसँग गरेको प्रतिबद्धतालाई उनका भाइबन्धुले भंग गरेपछि सार्वभौम नागरिकता, सारभूत संघीयता, समानुपातिक समावेशिता, जनसंख्या आधारित प्रतिनिधित्व, भाषिक सम्मान एवं सांस्कृतिक स्वत्वजस्ता जम्मै मुद्दाहरू कमजोर बन्न पुगेका छन् । तर, वृक्ष नफस्टाउने दोष बीजलाई मात्र जाँदैन । कहिल्यै परतन्त्र नभएको भनिए पनि सधैंजसो सत्तासीनहरूको मनपरीतन्त्र चल्ने गरेको देशमा बन्जर फोड्ने काम सात सालमा सुरु भएको थियो । सात फागुनको सम्झनामा कतै खुसियाली त कतै मातम वा एकथरीको दीपावलीमा अर्काथरीको तिमिरण (ब्लैकाउट) छैन । निलम्बित भएर के भयो, नेपालीय पहिचानको परिकल्पना अद्यापि जीवन्त छ । त्यसको श्रेय सात सालको सपनाका मुक्तिकामी योद्धाहरूलाई दिइरहनुपर्छ । मान्नु नमान्नु छनोटको कुरा, तर फागुन सात ‘नेपालीय एकता दिवस’ भने हो ।

कोसेली

गुरुकुलीय शिक्षामा बिगार पर्‍यो !

- डा. माधव प्रसाद पोखरेल

गुरुकुलीय शिक्षा
गुरुकुलीय शिक्षा हाम्रो उपमहाद्वीपको सबभन्दा पुरानो औपचारिक शिक्षा प्रणालीको नाम हो । वैदिक काल (इपू १५००) मै त्यो थालियो, उत्तर वैदिक र पौराणिक कालमा उत्तरोत्तर मात्रामा फस्टायो र उपमहाद्वीपीय संस्कृतिको जग र चिनारी बन्यो । पश्चिम एसियाली (१२ औं शताब्दीपछि) र युरोपेली (१८ औं शताब्दीपछि) आधिपत्यपछि यसलाई छल, बल, कल गरेर अनेक किसिमले आक्रमण गरियो र उपमहाद्वीपकै युवाहरूलाई आफ्नै गौरवमय परम्परा र आफ्नै सांस्कृतिक मौलोप्रति वितृष्णा, घृणा र वैराग्य चलाउने र विदेशबारे मात्रै सकेसम्म बढ्ता जान्नुपर्ने गोरखधन्दा र भुल्भुलैयाको नाम ‘शिक्षा’ दिइयो । विद्यार्थीले आफ्ना सांस्कृतिक ज्ञानलाई विद्यालयमा पढ्नै नपर्ने, होडै नगराइने, नम्बरै नदिइने, पुरस्कारै नदिइने अनि विदेश, विदेशी र आफ्ना परम्पराको निमासो गर्ने शत्रुहरूबारे जति जान्यो, त्यति सम्मान, पुरस्कार र पदोन्नति पाउने, आफ्नै संस्कृति, लोक विद्या र गुरुहरूलाई असभ्य, अविकसित, असामयिक र सिकेर उँभो नलागिने भ्रम सिर्जना गर्ने मेकालेको सिफारिसबाट बेलाइतले पराधीन शत्रु राज्य (भारत) मा दिगो रूपमा आफ्नो शासन टिकाउन लागू गरेको कुटिलतालाई नेपालीले पनि हाम्रो राष्ट्र र जातिलाई उँभो लगाउने ‘शिक्षा’ ठान्यौँ अनि भारतले पनि विदेशीबाट स्वतन्त्र भएपछि त्यसलाई आफलेर आफ्नै गुरुकुलीय शिक्षालाई समसामयिक परिमार्जन गरेर फर्काउन सकेन । समृद्ध गुरुकुलीय शिक्षा अकालैमा मर्‍यो ।

शिक्षा भनेकै के हो ?
शिक्षाको विश्वव्यापी परिभाषा (जोन डिवे, १९५९ इ, ‘डिक्सनरी अफ एजुकेसन’) अनुसार जुनसुकै बालखले आफ्नै जातिको सामूहिक चेतनामा उत्तरोत्तर गहिरो सहभागिताबाट पाउने ज्ञानको नाम नै शिक्षा हो । जन्मँदैदेखि सामुदायिक सहभागितामा जानी नजानी आफ्नै जातीय चेतनामा गहिरिएर सिक्तै जाँदा मान्छेले क्रमशः आफ्नै सामर्थ्यको बान्की मिलाउँदै जान्छ, चेतना बाक्लो बनाउँदै जान्छ, बानी बसाल्दै जान्छ, विचारहरूलाई तालिम दिँदै जान्छ, अनि आफ्ना भावनाहरूलाई जगाउँदै जान्छ (पराईजस्तो हुन होइन) । चालै नपाई आफ्नो समुदायबाट पाइने यस्तै शिक्षाले बिस्तारै मान्छेले पुर्खाहरूले जोगाएको बौद्धिक र नैतिक सम्पदालाई आफ्नो पनि रहेछ भन्ने चाल पाउँछ । ऊ महान् मानव सभ्यता बनाउन आफ्नै पुर्खाको पनि योगदान रहेछ भन्ने कुरो बुझ्छ । विद्यालयमा गएर सिक्नुपर्ने औपचारिक र प्राविधिक शिक्षा पनि यो परम्परागत शिक्षाको मर्मबाट बाहिरिन सक्तैन, आफ्नै परम्परागत शिक्षालाई विशेष लक्ष्यद्वारा परिमार्जन गर्न र कुनै निश्चित दिशा दिन मात्र सक्छ । कलिन्स र ओ’ब्रायन (२०११ इ, ‘ग्रिनउड डिक्सनरी अफ एजुकेसन’) ले शिक्षालाई मानिसको चिनाइको विकाससँगै शारीरिक, प्राकृतिक, पर्यावरणीय, सामाजिक, भावनात्मक र नैतिक विकासलाई पोस्ने प्रक्रिया मानेका छन् । शिक्षाले निश्चित ज्ञानलाई उत्कृष्ट ठान्छ अनि त्यता पु‍र्‍याउने उपायहरू लगाउँछ । औपचारिक शिक्षाले मान्छेका व्यक्तिगत चाहनाहरू र सामाजिक आवश्यकताहरूबीचमा तालमेल राख्ने उद्देश्य लिन्छ ।

हाम्रो प्रचलित शिक्षाको जाँच
नेपालमा हामी जुन गोरखधन्दालाई ‘शिक्षा’ भन्न बानी परेका छौँ, त्यसलाई शिक्षा शास्त्रको यहाँ लेखिएको सार्वभौम परिभाषाअनुसार लेखाजोखा गर्दा यस्तो देखिने रहेछ ः
नेपालमा बालखलाई जति पढाउँदै गयो, उति उसलाई समुदायको परम्परागत ज्ञानबाट टाढा पु‍र्‍याइन्छ । पारंगत भए पछि नेपाली विद्यार्थी आफ्नो मातृभाषा, जातीय चालचलन, शिष्टाचार र लोक विद्यामा अज्ञानी भएर निस्किन्छ । विद्यालयको ज्ञानले उसलाई जातीय जानकारीमा निष्पट्ट बनाउँछ । शिक्षा मन्त्रालयले उच्च अंक दिएर उत्पादन गरेको ‘शिक्षित’ नेपालीले नेपालको शक्ति र सामर्थ्य ठम्याउनै पाउँदैन, बरु विदेशका विषयमा चाहिँ धेरै कुरा सिक्छ । शिक्षाले नेपालीलाई ‘अजात’ र ‘अनेपाली’ बनाउनचाहिँ सक्छ, किन भने हाम्रो शिक्षाले नेपाल पढाउनेमा भन्दा विदेश पढाउनेमा बढ्ता जोड दिन्छ, नेपाली चिनाउनेभन्दा विदेशी चिनाउनेमा महत्त्व दिन्छ, ‘राम्रो’ र ‘उत्कृष्ट’ ठहराउँछ, तर यस बिथितिले कसै गरे पनि एउटा छँदाखाँदाको नेपालीलाई नेपाल विद्यामा अज्ञानी मात्र बनाउन सक्छ, विदेश विद्यामा पारंगत बनाउनुचाहिँ असम्भव छ ।

मूल्य
छरछिमेकी र समाजले गर्ने गरेका प्रशंसा–गाली, उत्कृष्ट–निकृष्ट, राम्रो–नराम्रो, आदर्श–चुत्थो, रोज्नुपर्ने–छोड्नुपर्ने बाटो, सिक्नुपर्ने–आफल्नुपर्ने कुरो, गुण–अवगुण, आकर्षण–विकर्षण, फाइदा–बेफाइदा, ठुलाबडा–मामुली, विकसित–अविकसित, सभ्य–असभ्य, जित–हार र पुरुषार्थको लेखाजोखा गरेर समाजको गन्तव्य बन्छ । हाम्रो शिक्षाले गर्दा नै समाजको गन्तव्य आफ्नो आफलेर विदेशी तिर एकोहोरिएको छ ।

गुरुकुलीय शिक्षा के हो ?
गुरुकुलीय शिक्षाले यो नाम किन पाएको भने, त्यसमा राजादेखि रंकसम्मका विद्यार्थीहरूले शिक्षा लिन गुरुकै परिवार (गुरुकुल) मा स्थायी रूपमा बस्नुपर्यो, घरमा परी आएको सबै काम आफ्नै ठानेर गर्नुपर्थ्यो, सबै विद्यार्थीलाई गुरुले नै खाने लगाउने चाँजो मिलाउनुपर्यो, जस्तो परिवारको भए पनि गुरुले सबैलाई एकनासको पोसाक र भोजन दिनुपर्थ्यो, विद्यार्थीहरूले भिक्षा मागेर छाक टार्नुपर्थ्यो, मागेर ल्याएको गुरुलाई सुम्पिनुपर्थ्यो, खाने कुरो एउटै भाँडामा पाक्थ्यो । पच्चीस वर्षको नहोउन्जेल गुरुकै घरमा बसेर पढ्नुपर्थ्यो ।
इपू चौथो शताब्दीसम्म भारतीय आर्यहरूले कुनै लिपि नै चलाउन जानेका थिएनन्, त्यसैले ऋषिमुनिले खोज अनुसन्धान गरेर बटुलेको ज्ञान सूत्र रूपमा (सूत्र विधि) विद्यार्थीहरूलाई घोकाउँथे । विद्यार्थीले ध्यानपूर्वक सुनेर (श्रवण विधि) घोकेपछि गुरुलाई कण्ठस्थ सुनाउनु (कण्ठाग्रीकरण विधि) पर्थ्यो । गुरुलाई पाठ बुझाउनुभन्दा अघि सबै विद्यार्थीहरू पहिले आफूलाई पाठ राम्रो आउँछ कि आउँदैन भनेर आफ्ना साथीलाई सुनाएर आफैँ जाँच्थे अनि आफूलाई राम्रो नआएको भए, आफैँ पाठ दोहो‍र्‍याउँथे (पारस्परिक जाँच विधि) । आफ्नो पाठभित्र लुकेको अर्थबारे झन प्रस्ट हुन साथीहरूसित छलफल गर्थे (‘सुहृत्प्राप्ति’ विधि) भन्ने कुरो वाचस्पति मिश्रले लेखेका छन् (श्यामनारायण शुक्ल, २००४, ‘प्राचीन भारतीय पाठ्य चर्चा और शिक्षण पद्धति’, पीएचडी प्रबन्ध, झाँसी ः बुन्देलखण्ड विश्व विद्यालय) ।
विद्यार्थीले त्यसरी पाठ बुझाएपछि गुरुले त्यस सूत्रको अर्थ बुझाइदिन्थे (व्याख्या विधि) । बुझेको अर्थ मनमनै खेलाएर (मनन विधि) चेलाले गुरुसँग सिकेको ज्ञानलाई सकेसम्म गहिरिएर बढाउनुपर्थ्यो (‘स्मरणं तु गुरोर्वाक्यं मननं तदनन्तरम्’, डा. सरयूप्रसाद चौबे, १९५९ इ, ‘भारतीय शिक्षा का इतिहास’, पृ. ५) ।
नबुझेका ठाउँमा गुरुसँग गएर सोध्नुपर्थ्यो (ऊहापोह ‘तर्कवितर्क’ अर्थात्, शंका समाधान विधि) । विद्यार्थीलाई कुनै कुरो बुझाउन उदाहरणका लागि महापुरुषहरूको जीवन वृत्तान्त अथवा इतिहास वा पुराणका प्रसिद्ध घटना अथवा काल्पनिक कथा र उपाख्यानको पनि प्रयोग (कथा अथवा दृष्टान्त विधि) गरिन्थ्यो (चौबे, २८) । विद्यार्थीले गम्भीर प्रश्न सोधे गुरुले नै त्यस प्रश्न बारे ‘ध्यान’ गर्नुपर्थ्यो ।
त्यसरी सिकेको ज्ञान विद्यार्थीले ठीकसित बुझ्यो कि बुझेन भनेर जाँच्न ऽोणाचार्यले कौरव पाण्डवलाई जाँचेझैँ गुरुले विद्यार्थीलाई त्यो ज्ञान उपयोग गरेरै फत्ते गर्न सकिने कुनै काम (कौशल अथवा बुद्धिको जाँच वा प्रयोगात्मक परीक्षा विधि) अराउँथे । यसरी गुरुसँग पढेको हरेक नयाँ कुरो विद्यार्थीले घोक्नैपर्ने, घोकेको कुरो गुरुसँग बसेर बुझ्नैपर्ने, बुझेको कुरो मन मनै खेलाएर विद्यार्थीले गहिरिएर आफ्नै मनलाई सोधेर बढाउनैपर्ने, विद्यार्थीले बुझे नबुझेको कुरो जाँच्न गुरुले अराएको काम व्यवहारमा उतारेर जान्नै पर्ने अनि नयाँ पाठ सिक्न जाँदा अघिल्ला पाठ कण्ठस्थ बुझाउनैपर्ने (पूर्व ज्ञान परीक्षण) चलन थियो । भनाइ नै थियो, ‘आचार्यात्पादमादत्ते, पादं शिष्यः स्वमेधया । पादं सब्रहृमचारीभ्यः, पादं कालक्रमेण तु ।।’ (गुरुले त एक चौथाइ ज्ञान मात्र दिन सक्छन्, अर्को एक चौथाइ ज्ञान शिष्यले आफ्नै तर्क र बुद्धिले निकाल्नुपर्छ । तेस्रो एक चौथाइ ज्ञानचाहिँ साथीहरूसँग छलफल गरेर बढ्छ भने, बाँकी चौथाइ ज्ञानचाहिँ व्यवहारमा परेर मात्र सिकिन्छ (सीताराम चतुर्वेदी, २०१४, ‘अभिनव शिक्षण सिद्धान्त’, ५१) । नबुझेको कुरो गुरुलाई सोध्ने र गुरुले उत्तर दिने (प्रश्नोत्तर विधि) परिपाटी गुरुकुलीय शिक्षाको एउटा मुख्य विधि थियो । यो विधि उपनिषद् र पतञ्जलि महाभाष्य जस्ता व्याकरणमा पनि पाइन्छ । धनुर्वेद, आयुर्वेद र कर्मकाण्डजस्ता जुन–जुन विषयमा प्रयोगात्मक तालिमको आवश्यकता थियो, ती–ती विषयमा ‘प्रयोगात्मक शिक्षा’ पनि दिइन्थ्यो । हरेक गुरुले हरेक दोस्रो पाठ थाल्दा अघिल्लो दिन आफूले पढाएको कुरो चेलाले कण्ठस्थ भन्न सक्छ कि सक्तैन, मनन गरेको छ कि छैन, आदि कुरो सोध्ने चलन थियो । विद्यार्थीले अघिल्लो दिनको पाठ बुझाएपछि मात्र छात्रले नयाँ पाठ पढ्न पाउँथ्यो, नत्र पुरानै पाठ दोहो‍र्‍याउनुपर्थ्यो (सीताराम चतुर्वेदी, २००९, ‘भारत में सार्वजनिक शिक्षा का इतिहास’, ५९) ।
बेलाबेलामा अर्कै गुरुकुल वा विद्या केन्द्रका विद्वान्हरू पाहुना आएका बेलामा त्यस्ता विद्वान्हरूले ‘अतिथि कक्षा’ लिन्थे, कुनै निश्चित विषयमा प्रवचन दिन्थे अथवा विद्यार्थी अथवा गुरुले राखेका कुनै समस्यामा आफ्नो मन्तव्य दिन्थे र गुरुहरूका बीचमा अथवा बेग्लाबेग्लै गुरुकुलका गुरु चेलामा प्रश्नोत्तर हुन्थ्यो । गुरुकुलका विद्यार्थीहरू त्यस्ता ‘प्रवचन’ बाट पनि सिक्थे । त्यस्तै, बेग्लाबेग्लै गुरुकुलका गुरु चेलाहरू ‘ब्राह्मण संघ’, ‘शिक्षा सम्मेलन’, ‘यज्ञ स्थल’, ‘तीर्थ स्थल’, ‘श्राद्ध स्थल’, ‘राजसभा’, ‘ऋषि आश्रम’ र ‘विद्वत्परिषद्’ मा हुने ‘प्रवचन’, ‘विद्वद्विमर्श’ र ‘शास्त्रार्थ’ (र वादविवाद प्रतियोगिता) मा सहभागी भएर पनि आफ्नो ज्ञान, योग्यता र प्रतिभाको विस्तार गर्थे (शुक्ल, पृ. ४१)।
गुरुकुलभित्र ‘शास्त्रार्थ’ का रूपमा ‘सामूहिक परीक्षा’ पनि हुन्थ्यो, जसमा एउटै गुरुकुलका चेलाहरू दुई समूहमा बाँडिन्थे र कसैले पूर्व पक्ष लिन्थ्यो, कसैले उत्तर पक्ष लिन्थ्यो । त्यसरी विद्यार्थीहरूको प्रतिभा, तर्क शक्ति, ज्ञान र अध्ययनको जाँच हुन्थ्यो । त्यहाँ गुरु नै निर्णायक र मध्यस्थ हुन्थे । ‘शास्त्रार्थ’ र ‘अन्ताक्षरी’ गुरुकुल बाहिर पनि हुन्थ्यो ।

शिष्यगुरुको चलन
गुरुकुलमा जान्ने विद्यार्थीको ल्याकत बढाउन उही अथवा माथिल्ला कक्षाका जान्ने विद्यार्थीलाई सिकाउन लगाइन्थ्यो । त्यसरी सिकाउने ‘शिष्यगुरु’ लाई सिक्ने विद्यार्थीले गुरु समानै आदर गर्नुपर्थ्यो । शिष्यगुरुको चलनले एकातिर गुरुकुलमा भएको शिक्षकहरूको खाँचो पनि पूरा हुन्थ्यो भने, अर्कातिर जुनसुकै मान्छेले आफू विद्यार्थी हुँदा नबुझेको पाठ अरूलाई सिकाउँदा छर्लङ्ङ बुझ्छ, त्यसैले आफ्नै सहपाठीलाई र तल्लो कक्षाका नजान्ने साथीहरूलाई पढाउन लगाएर विद्यार्थीहरूको ज्ञान दरो बनाउने चलन गुरुकुलीय पद्धतिमा थियो । त्यसरी सिकाउँदा साथीहरूमाझ सिकाउने विद्यार्थीहरूको मान बढ्ने हुनाले विद्यार्थीहरू पनि आफ्नो ल्यागत बढाउन घम्मर गर्थे । यसरी विद्यार्थीहरूमा ल्याकत बढाउने होड चल्थ्यो । ‘आपस्तम्बगृहृयसूत्र’ अनुसार गुरु नभएका बेलामा त्यस्तै शिष्यगुरुहरूले सिकाउँथे ।
यसरी शिष्यगुरु प्रणालीले गर्दा गुरुकुलभरि सबै गुरु नै गुरु हुन्थे । त्यस्तो चलनले गर्दा माथिल्ला कक्षाका विद्यार्थी तल्ला कक्षाका आफ्ना विद्यार्थीले चाल पाउलान् भनेर अनुशासित हुन्थे भने, तल्ला कक्षाका विद्यार्थी जताततै गुरु नै गुरु देखेर मर्यादित हुन्थे । यसरी गुरुकुलमा विनयशीलता, मर्यादा र अनुशासन कायम हुन्थ्यो (चतुर्वेदी, ५३) ।

शिक्षाको मूल आधार : धर्म र शासन
संसारभरमा शिक्षा दिने मूल कारण नै धर्म र शासन (वा राजनीति) हुने रहेछ । अंग्रेजहरूले भारतमा अनिवार्य अंग्रेजी शिक्षा थाल्दा (१८३४ इ) थोमस मेकालेले आफ्ना हिन्दु र इस्लाम धर्ममै आक्रमण गरेका थिए । त्यो शिक्षा लागू भएको पाँच वर्षमा आफ्ना बाबुलाई लेखेका चिठीमा भनेका थिए, ‘अबदेखि अंग्रेजी पढेको कुनै हिन्दु पनि आफ्नो धर्ममा इमानदार हुन सक्तैन । अब कतिले हाम्रै नीतिको पालन गरी रहन्छन्, अनि कति त, धर्म परिवर्तन गरेर इसाई नै हुन्छन् । मलाई त के विश्वास छ भने, हाम्रो शिक्षा योजना यसैगरी सफल भएर चल्यो भने, अब आजको ३० वर्षपछि बंगालका छेत्री–बाहुनका घरमा मूर्ति पूजा गर्ने मान्छे एउटै पनि भेटिँदैन । यो सबै काम धर्म परिवर्तन गराउने कुनै प्रयास नगरे पनि, धार्मिक स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरे पनि उनीहरूले पाएको ज्ञान र त्यसले जन्माउने सोचबाटै स्वतः सम्भव हुन्छ । यो कुराले म कस्तो गदगद भएको छु !’ मेकालेको यस भनाइबाट भारतमा संस्कृत शिक्षा बन्द गरेर अनिवार्य अंग्रेजी लादेका बेलामै त्यस्तो शिक्षाको मूल उद्देश्य नै अरूको धर्ममा रोक लगाएर आफ्नो धर्म फैलाउनु थियो ।
मेकालेले बेलाइती संसद्मा (२ फरबरी १८३५) यस्तो प्रस्ताव राखेका थिए अरे, ‘मैले भारतवर्षमा सर्वत्र चाहार्दा एउटै माङ्ने पनि देखिन, एउटै चोर पनि फेला परेन । त्यहाँका मान्छेको कस्तो उच्च नैतिकता ! कस्तो महान् चरित्र ! त्यहाँको कस्तो समृद्धि ! अहँ! मलाई त के लाग्यो भने, त्यहाँको आध्यात्मिक र सांस्कृतिक सम्पदा अनि प्राचीन शिक्षा प्रणालीलाई हटाएर (अर्थात्, तिनीहरूको अस्मिताको ढाड भाँचेर) त्यसका ठाउँमा हाम्रो लादेनौँ भने, मरी गए, हामी त्यस देशलाई जित्न र त्यहाँ दिगो शासन गर्न सक्तैनौँ । संस्कृत माध्यमको उनीहरूको शिक्षाको साटो अंग्रेजी माध्यमको हामीले योजना गरेको शिक्षा लाद्यौँ भने मात्रै, बल्ल, भारतीयहरूलाई जे जे बेलाइती र विदेशी हो, त्यो नै आफ्नोभन्दा उन्नत हो भन्ने पर्छ । त्यति भएपछि चाहिँ तिनीहरूले आत्मसम्मान र जातीय संस्कृति गुमाउँछन्, अनि मात्र हामी पराजित राज्यका नागरिकलाई झैँ तिनीहरूलाई हामीले जे भन्यो त्यही मान्ने बनाउन सक्छौँ ।’ गुरुकुलीय शिक्षा पनि धर्मद्वारै अनुप्राणित थियो, त्यसैले विदेशीले अर्काको मुलुकमा दिगो शासन गर्न ‘शिक्षा’ का बाहाना बुनेर धर्ममै आक्रमण गर्नुपर्ने रहेछ भन्ने मेकालेको कुटिल मन्त्रबाट बुझ्नुपर्छ । पश्चिमाहरूले हाम्रो शिक्षा, अनुशासन, न्याय, समाजशास्त्र र जीवनाधार बुझाउने ‘धर्म’ शब्दको अनुवाद युरोपमा बदनाम भएको ‘रिलिजन’ शब्दमा गरेर बुझ्नाले हामी मेकालेले चिताएकै बाटामा आफ्नो लोक समृद्धि स्वाहा पार्दै विदेश पोस्न तँछाडमछाड गरी रहेका छौँ !

आचार र संस्कार नै शिक्षाको लक्ष्य
आजको नेपाली शिक्षाको लक्ष्यचाहिँ पढेर आफ्ना दाजुभाइ, नातेदार, कुटुम्ब, छिमेकी, देशवासी र आफ्नो समाजभन्दा एकदम फरक अर्थात् अद्वितीय हुने देखिन्छ, तर यस्तो लक्ष्य त न माथि लेखिएको शिक्षाको परिभाषासित मिल्छ, न आजको जापानी शिक्षासित मिल्छ । आदर्श चरित्र भएका नागरिक बनाउनु नै गुरुकुलीय शिक्षाको लक्ष्य थियो । आचार सिकाउने हुनाले नै मूल गुरुलाई ‘आचार्य’ भनिन्थ्यो ।

Page 23
कोसेली

फोक्सुन्डोमा कान्जिरुवाको छाया

- हेमन यात्री

बिहान ८ः०० बजे नेपालगन्जबाट बस छ्ट्युो । पश्चिम रुकुमको खलङ्गा पुग्दा सारा दिन रित्तिइसकेको थियो । अँध्यारोमा, गहिरोमा ठूलो भेरि नदीको आवाज मात्रै सुन्न सक्थ्यौँ हामी । रुडीबजारबाट जिप चढ््नुअघि ठूलो भेरि नदीमा टाँगीएको पुलमाथि हिँडिरहेका थियौँ । पुलमा नदीको आवाज र चिसो सिरेटोबाहेक केही थिएन । मधुरो जूनको उज्यालो खसिरहेको थियो भुइँमा । ठूलो भेरिको झोलुङ्गे पुल तरेपछि जूनको उज्यालोमा हामीलाई लिन आएको बुलेरो उभिइरहेको देखियो । हामीले जिपको छानोमा झोला राख्यौँ । सिटको क्षमताले नभ्याएपछि कोही झोलाका साथी बस्यो । बिस्तारै अँध्यारोमा जिपले बसेको ठाउँ छोड्यो । रसिक ड्राइभरले अक्करको बाटोमा, रमाइला कथा सुनाउँदै ज्युला पुर्‍याए । बिहानदेखि लगातारको यात्राले दुखिरहेको शरीरलाई करिब १२ घण्टापछि एउटा होटलको कोठामा आराम दियौँ ।
बिहान ब्युँझँदा, नजिकै बगिरहेको ठूलो भेरी हल्ला गरिरहेकै थियो । जस्तो निदाउनुअघि थियो । यहाँबाट सुलिगाडसम्म अझै जिप चल्थ्यो । तर, बन्दको हल्लाले गाडी चल्ने–नचल्ने टुङ्गो थिएन । गाडी नचले त त्यहीँबाट हिँड्नुपर्थ्यो हामीले । झिसमिसेमै बास छोडेर गाडी खोज्न हिँड्यौँ । संयोगले यात्रु पर्खेर बसिरहेको एउटा पुड्को गाडी भेटियो । त्यही गाडी समातेर लाग्यौँ, ठूलो भेरीको उकालो डिलैडिल ।
दिनको एक बज्दो हो । सुलिगाड पुग्दा चारओटा गाडी साटिसकेका थियौँ हामीले । सीमित दूरीका लागि मात्रै चल्ने सडक सुबिधा भएकाले एकभन्दा बेसी साधन परिवर्तन गर्नुपर्ने रहेछ । भर्खरै मात्रै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको डोल्पा सदरमुकाम पुग्ने सडकमा भेरी नदी बाधक बनेको हो । नदीको दुवैतिर बनेको छ बाटो । तर, गाडी बाटोले भने भेरि तर्नै पाउँदैन । कसैले बारी किनारमा गाडी गुडाउँछन्, कसैलो पारी । पक्की पुलको अभावमा गाडीले नदी तर्नै सक्दैन । वारिपट्टि गुड्ने स्याना गाडीहरूलाई एक्स्काभेटरको सहयोगमा नदी तारेर सञ्चालनमा ल्याइएको रहेछ ।
सुलिगाडबाट डोल्पाको सदरमुकाम दुनै नजिकै पर्छ । ठूलो भेरीको किनारमै बसेको छ दुनै बजार । दसवर्षे युद्घताका माओवादीले हमला गर्दा होस् वा बर्सेनि बाढीको उच्च जोखिममा पर्दा होस्, डोल्पा सदरमुकाम सधैँ चर्चामा आइरहने ठाउँ हो । हेर्दा जति सुन्दर देखिएको छ, भोग्दा कति कुरूप छ भन्ने अनुभव बर्सेनि बाढीको हैरानीमा परेका सदरमुकामवासीलाई मात्रै थाहा छ । नदीको दायाँबायाँ बसेको सुन्दर दुनै बजार, हरेक बर्खामा त्रास लिएर बाँचिरहेको एक अभागी बजार हो । सुलिगाडबाट एउटा धूलौटे मोटर बाटो त्यही अभागी बजार भएतिर भाग्य खोज्न गएको छ । सुलिगाडबाट झोलुङ्गे पुल तरेपछि अर्को एउटा गोरेटो बाटो भेटिन्छ, जुन बाटो भएर फोक्सुन्डो ताल पुग्न सकिन्छ ।

झमक्कै साँझ परेपछि पनि समय अझ उता भागिसकेको थियो । लगभग अध्यारोले हिँड्ने बाटो छोपिसकेको थियो । एकतमासले बाटोको छेउमा हल्ला गर्दै फोक्सुन्डो खोला ओरालो दौडिरहेकै थियो । मानौँ आफ्नो सर्वस्व खोसेर भागिरहेको छ कोही, जसलाई खोस्न बेतोड दौडिरहेको छ फोक्सुन्डो खोला । उज्यालो छउन्जेल जङ्गजको बीचैबीच निक्खुर सेतो रङ ओडेर बगिरहेको फोक्सुन्डो खोला, जति जति माथि गयो उति रहरलाग्दो देखिँदै थियो । मानौँ फाक्सुन्डो खोलामा पानी होइन, हिउँ बगिरहेको छ । फोक्सुन्डो खोलाको वेगविपरीत दिशामा हिँडिरहेका थियौं हामी । खोलाको रूप र तिनले निकाल्ने अनेक प्रकारका ध्वनिको रोमाञ्चकताले हामी यात्रीको थकाइसमेत कम गरिदिएको थियो ।
हिँडाइको अघिल्लो समूहमा थियौँ हामी । छिटो लम्कनेहरू बाटामा अघि नै हुने गर्छन् । बिस्तारै हिँड्ने पछि । यहाँ स्वाभाबिक समूहको निर्माण भइहाल्छ । अभय श्रेष्ठ, भूपिन, दीपेन्द्र र म अघिल्लो समूहमा थियौँ । हाम्रो समूहको सबैभन्दा पुच्छरे म । हिँड्दै जाँदा पूरै अँध्यारोले छोपिसकेको थियो बाटो । कतिसम्म भने अघि हिँड्ने साथीहरूको स्टिक र पाइलाको आवाज ठम्याएर हिँड्नुपर्ने भइसकेको थियो । फोक्सुन्डो खोलाको हल्लाको अघि त्यो ठम्याइ पनि कति मुस्किल थियो । त्यही क्षण, अप्ठ्याराको साक्षी छँदै थियो । मभन्दा ठीकअघि हिँडिरहेको भूपिन ढुङ्गाले बनेको मझौला सिँडी उक्लेर बोल्यो— बल्ल आइपुगियो । मैले मनमनै खुसीको श्वास फेरेँ । अहिले सोच्दै छु म, हिँड्न कति मुस्किल भएको रहेछ ।

स्याङ्ता
नेपालगन्जबाट हिँडेको दोस्रो साँझ स्याङ्तामा बास बस्न पुगेका थियौँ हामी । एकान्त र दुःखको साथी रहेछ स्याङ्ता । फोक्सुन्डो खोलाको सुसाइबाहेक कोही रहेनछ साथी । चारतिर डाँडा, खोँचमा ओरालो बग्ने फोक्सुन्डो खोला । फोक्सुन्डो किनारमा स्यानो स्पेस रहेछ । त्यही स्यानो स्पेसको नाम हो स्याङ्ता । स्याङ्तामा पाहुना बस्ने घर बनेको छ— बडेबडे ढुङ्गाको काख । ढुङ्गाको भरमा बनेको तीनकोठे घर, काम चलाउ मात्रैको हो । यसलाई व्यवस्थित ओडार भनिदिँदा पनि हुने हो । किनभने घरको आधा पर्खाल त्यही गडुवा ढुङ्गाले निर्मित छ । स्याङ्तामा भएको होटल भने पनि, घर भए पनि, ओढार वा जे भने पनि यही एउटा मात्रै हो बस्ने ठाउँ । ठूलो समूहमा आउनेका लागि अपुग हुन्छ बस्नलाई । हाम्रो १५ जनाको समूहलाई अट्न मुस्किल भएर भान्सा घरमा समेत केही साथी बसेका थिए । स्याङ्ता एकदमै एकान्त र निर्जन जग्गा रहेछ । बाटो हिँड्ने बटुवाबाहेक यहाँ नजिक अर्को कुनै घरमा बस्ने मानिस भेटिने होइन । खै कुन साहसले हो, वा बाध्यताले यति एकलासमा एक्लो घर मात्रै बस्न सकेका ? दन्त्य कथाहरूमा आउने दृश्यजस्तो यो ठाउँ सायद हामीजस्तै अप्ठ्याराका बटुवालाई पर्खिबसेको चौतारो हो, जसले हामीलाई एकरात आफ्नो काखमा निदाउने ठाउँ दियो ।
अघिल्लो दिन स्याङ्ता पुग्दा हिँडाइको धपेडीले जाडोको खास महसुस गर्न पाएनौँ हामीले । बिहान बिउँझेर बाहिर निस्कँदा शीतले भिजेका थिए बुट्यान, चट्टान र सल्लाका रूखहरू । असार महिना शीत खस्ने ठाउँ, हिउँदमा के हाल होला ? सोच्दै स्याङ्ताको आकाश हेरेँ । बिहानको स्याङ्ताको आकाशमा खरानी रङमा कुहिरो उडिरहेको थियो । दिनको सङ्केत बिहानले गर्छ भनिन्छ । आजको दिन मौसम कस्तो रहने हो ? दिनभरि हिँड्ने बाटो सम्झेर आकाश हेर्नु र झरी नपरोस् भन्ने कामना जो कोही बटुवाले गर्ने नै भयो । मैले पनि त्यही गरेँ ।

बिहानको करिब ७ बजे स्याङ्ता छोडिसकेका थियौँ । बाटो उही । फोक्सुन्डो खोलाको तिरैतिर । फोक्सुन्डो खोलाले, ताल नपुगुन्जेल हामीलाई एक्लै हिँड्नै दिँदैन भन्ने थाहा भईसकेको थियो हामीलाई । तर, रमाइलो के भने फोक्सुन्डो खोलाले कही पनि दिग्दार बन्नै नदिने । कतै चेपबाट निस्किएर बग्ने, कतै जङ्गलको बीचबाट फुत्त हामफालेर निस्केजस्तो देखिने । कतै हिउँ जमेजस्तो देखिने, कतै हिउँ पग्लेर बगेजस्तो देखिने, अनेक चरित्र प्रदर्शन गरेर हामीलाई खुसी बनाइरहने । तर, बाटो भने ज्यादै साँघुरो । कुनै–कुनै ठाउँ झन् यति जोखिम् कि, दोहोरो क्रस गर्ने ठाउँ समेत नपाइने । केही गरी खुट्टाले बाटो छोडिहाले जिन्दगी माया मारे भयो ।
फोक्सुन्डो खोलाको तीरैतीर कसले बनायो होला यो अक्करको बाटो ? जुन बाटोको डिलमा मृत्युले सुनिबसेको छ प्रत्येक हिँडालुको पैतालाका आवाज । पैतालाले केही गरी ठेगाना बिर्से सोझै मृत्युले समाउने निश्चित छ । केही अघि लोमान्थाङको यात्रामा समेत यस्तै डरको बाटो हिँड्नुपरेको सम्झना भएर आयो । पत्थरबीच खोपेर बनाइएको स्यानो बाटो भएर गुड्नुपर्थ्यो गाडी । बाटोमुनि फोक्सुन्डो खोलाझैँ बग्ने काली गन्डकी मात्रै देखिने । हिम्मतले आफ्नो स्थायी बास छोडेपछि गाडीबाट ओर्लिएर हिँडेको थिएँ म । खास जिन्दगीको माया यस्तै अप्ठ्यारा क्षणहरूमा त लाग्नेरहेछ नि ! नत्र त मान्छेजस्तो थेतरो जात दुनियाँमा अर्को कोही होला र ? जस्तो त्यही दिन समूहका साथी चन्द्र काफ्ले, सुरेन्द्र राना र मेरो हिँडाइ यति थेतरो थियो भने, स्याङ्तादेखि बिहानको खाना खाने ठाउँ पुग्नलाई सामान्यतया चारदेखि पाँच घण्टामा पुग्न सकिने दूरीलाई हामीले झन्डै दोब्बर समय लगायौँ । त्यस दिन फोक्सुन्डो ताल नपुगिने पक्का भएपछि अटेर गर्दै हिँडेका थियौँ । हाम्रो हिँडाइ अति अस्वाभाविक भएको भन्दै खाना खाने ठाउँमा पर्खी बसेका साथीहरू रिसाइरहेका थिए । तर, बाटामा हामीले जुन आनन्दको हिँडाइ हिँड्यो त्यसको अघि साथीहरूको रिस फिक्का–फिक्का लागिरहेको थियो ।

साइजलको साँझ
साइजल पहाडहरूको बीचमा टुक्रुक्क बसेको छ । स्यानो गाउँ छ त्यहाँ । स्यानो उपत्याकाजस्तो पनि लाग्ने । डोल्पाकै नमुना स्कुल तापिरिचा स्कुल र केही होटल, र घरहरू छन् त्यहाँ । दिउँसो हाम्रो अल्छीपना सङ्ग साथीहरू रिसाएपछि हामीले आफ्नो रफ्तार बढाएका थियौँ । र्‍याँचीबाट करिब डेढ घण्टा हिँडेपछि साइजल पुगिसकेका थियौँ । साइजल पुग्दा त्यहाँको होटल झरनाले स्वागत गरिरहेको थियो । अतिथिका लागि राम्रो खाना र बस्ने सुविधा उपलब्ध रहेछ होटल झरनामा । फोक्सुन्डो ताल पुग्नुअघि पर्यटकहरू प्रायः यही होटलमा बसेर जाने रहेछन् । छिटफुट आन्तरिक पर्यटक हुने भए पनि अफ सिजन भएकाले बाह्य पर्यटक कमै भेटिन्थे । होटलमा भूपिन हामीभन्दा केहीअघि नै पुगिसकेको रहेछ । साइजलको चिसोमा तातो पानी तताएर तोङ्बा तान्न सुरु गरिसकेको थियो उसले । गनेस र मेरा लागि पनि तोङ्बा भिज्यो । साथमा चौंरीको सुकुटी तयार भयो । दिनभरको थकान भेट्दै रात अबेरसम्म तोङ्बामा तातो पानी राख्दै चुस्की लिरह्यौँ । तोङ्बा उसै पनि मेरो प्रिय पेय पदार्थ हो । तोङ्बा पिउनुको अर्को फाइदा के हो भने, चाहेजति पानीको मात्रा राखेर पिउन सकिन्छ । अर्को अर्गानिक बान्की र अल्कोहलको मात्रा ज्यादै कम हुन्छ । गाउँघरमा तोङ्बालाई अल्कोहलको रूपमा नभई खाजाको रूपमा प्रयोग गर्ने चलन छ । आफ्नै घरमा तयार हुने तोङ्बा डोल्पाको यो बिरानो गाउँमा उपलब्ध हुँदा मैले आमाको सम्झना गरेको थिएँ । कहिलेकाहीं घर जाँदा आमाले बनाएको तोङ्बाले दिने मिठो निद्रा साइजलमा समेत अनुभव गर्न पाइयो ।

फोक्सुन्डो ताल
ए हजुर ! अब फोक्सुन्डो ताल पुग्न कति लाग्छ ? झरना होटलबाट हिँडेको पाँच मिनेटपछि मुखमा आउन थालेको प्रश्न हो यो । होटलबाट हिँडेको करिब पाउने तीन घण्टासम्ममा म आफैँले करिब तीसपटक त दोहोर्‍याएँ हुँला एउटै प्रश्न । यतिका पटक एउटै प्रश्न सोधे पनि अचम्म के भने जवाफ कसैको एउटै आउँदैनथ्यो । सरदर आधा घण्टादेखि तीन घण्टासम्मको बीचमा जतिजति समय निस्कन्छ, त्यतित्यति जवाफ दिँदै गए बटुवाहरूले । आ–आफ्नो हिँडाइको वेगअनुसार समय निर्धारण गर्दै प्रश्नको जवाफ फर्काए उनीहरूले । त्यो निधारै ठोक्की जाने उकालो पार गर्नलाई हाम्रै समूहमा पनि फरकफरक समयको हिसाब थियो ।
उकालो सकिएपछि पर देखिन्छ फोक्सुन्डो ताल । निक्खुर नीलो रङमा देखिएको फोक्सुन्डोभन्दा माथि नीलै आकाश छ । आकाशलाई छोएर उभिएका छन् सेताम्मे हिमालका चुचुरा । हिमालका तलतल खप्टिएर बसेको छ पहाड, पर्वत । त्यही अग्ला–अग्ला पहाडबाट चिप्लिएर बग्दै झरेको हो, फोक्सुन्डो ताल । कम्तीमा टाढाबाट त यस्तै देखिन्छ फोक्सुन्डो ताल । पर देखिने फोक्सुन्डो तालबाट बग्दै–बग्दै आएको पानी हामीबाट तल झरनाको रूपमा देखिन्छ । हो, त्यही झरना झर्दै–झर्दै फोक्सुन्डो खोला भएर बगिजान्छ ओरालो । जुन खोलाको तीरैतीर तीन दिनदेखि हिँडेर त्यो उचाइमा उक्लेका थियौँ हामी । ३७०० मिटरको उचाइबाट देखिएको फोक्सुन्डो ताल पुग्न करिब सय मिटर ओरालो झर्नुपर्ने रहेछ ।
पन्ध्र्र–बीस मिनटको लम्काइपछि पुग्यौँ, ताल नजिकको सुन्दर गाउँ– रिग्मो । बीस–पच्चीस घर रहेको रिग्मो गाउँलाई एकादेशको गाउँ भनिदिए पनि हुन्छ । आफ्नै स्वभाव, आफ्नै रङ, आफ्नै बैँस, आफ्नै सौन्दर्यसहित बाँचेको छ यो गाउँ । यही गाउँको आडमा बसेर धीत मरुन्जेल हेरेको हुँ फोक्सुन्डोलाई । मौसमअनुसार आफ्नो रूप परिवर्तन गरिरहने फोक्सुन्डोलाई नजिक पुगेर हेर्दा यस्तो लाग्यो, फोक्सुन्डो जानुभन्दा पहिले गुगल गरेर हेरेको तस्बिरभन्दा कैयौँ गुणा बेसी सुन्दर रहेछ यो ताल । आजसम्म प्रकृतिले यति मोहित बनाएको कुनै ठाउँ छ भने त्यो जरुर फोक्सुन्डो नै हो
कम्तीमा मेरानिम्ति ।

कोसेली

योगमायाको इतिहासमाथि अन्याय

- प्रणेता

योगमाया– उपन्यासमा योगमाया आसामबाट फर्केर आफ्नै जन्मथलो भोजपुर आइपुगेको प्रसंग आउँछ । आसाममा हुँदा त्यस्तो के भयो जसले एउटी गृहस्थ नारी विद्रोही सन्त बनेर गाउँ फर्किन ? प्रश्न उठ्नु स्वाभाविक छ । यहाँनेर योगमायाकै मुखबाट उपन्यासकारले परस्परविरोधी कुरा बोल्न लगाएकी छन् । उनका घरमा अनेक साधु–सन्त, भेष बदलेका जागरण र स्वतन्त्रताका पक्षधरहरू बास बस्न आउँछन् । अत्याचार, कुरीति र अन्धविश्वासको विरुद्ध लड्न प्रेरित गर्छन् ।
वैधव्यको वर्णाश्रम परम्पराविरुद्ध विद्रोह गरेको भनेर उनको साहसको प्रशंसा पनि गर्छन् । अत्याचार सहने होइन, भिड्ने हो पनि भन्छन् । योगमाया आफैं विभिन्न गोप्य सभा र भाषणमा सहभागी हुन पनि पुग्छिन् । अंग्रेजविरोधी स्वतन्त्रता संग्राम चलिरहेको भारत, त्यसमाथि विभिन्न बौद्धिक तथा राजनीतिक आन्दोलनका लागि सन् १९३०–४० को दशकमा चर्चित पश्चिम बंगाल । त्यसैले योगमायाले वैधव्य त्याग गरेर बिहे गर्ने हिम्मत गरेको सुन्दा प्रसंसा गर्नेहरू आइपुगे होलान् भन्न सकिन्छ ।
तर, यी तमाम विद्रोहकारी विचार बोक्ने मान्छेले उनलाई गृहस्थ त्याग गरेर अत्याचार र कुरीतिको विरुद्ध एउटा लामो यात्रामा निस्कन प्रेरित गर्दैनन् । त्यसरी प्रेरित गर्ने पात्र हुन्छ कुनै पुराणवाचक पण्डित । पण्डितले त्यस्तो के उत्पातको विचार दिन्छ त योगमायालाई ? उसले भन्छ— परस्त्री र परपुरुष गमन गर्नाले भविष्यमा नर्कको यातना भोग्नुपर्छ । त्यत्रा क्रान्तिकारी कुराले दिएका अनेक ऊर्जाले काम गर्दैन तर पण्डितको यही भनाइले एक झट्कामा सबै काम गर्छ । त्यसपछि प्रायश्चित गरेर पाप पखाल्नका निम्ति योगमाया घरबार छाड्ने निर्णयमा पुग्छिन् ।
यत्रो विरोधाभास उपन्यासकार नीलम कार्की ‘निहारिका’ ले किन चित्रण गरिन् ? ऐतिहासिक पात्रलाई आख्यानको विषय बनाउँदा लेखकले सहारा लिने इतिहासकै पुस्तक हुन् । आख्यानकारले थप अध्ययन गर्न पनि सक्छन्, तर त्यसले छुट्टै मिहिनेत र समय माग गर्छ । निहारिकाले पण्डितको मुखबाट बोल्न लगाएको संवादचाहिँ इतिहासकार जनकलाल शर्माको पुस्तक ‘जोसमनी सन्तपरम्परा र साहित्य’ भित्रको ‘शक्तिमाई’ शीर्षक लेखबाट लिइएको हो । यही प्रसंग ज्ञानमणि नेपालको ‘नेपालनिरूपण’ भित्र ‘सन्त कवयित्री शक्तिमाता योगमाया’ शीर्षक लेखमा पनि भेटिन्छ ।
दुवै इतिहासकारले योगमायाले बिहे गरेको प्रसंगलाई बिटुलिएको अर्थमा व्याख्या गरेका छन् । बालविधवा करार गरिएकी योगमायाले कथित् ‘विधवा धर्म’ पालन गर्नुपर्थ्यो भन्ने आग्रह दुवैको छ । शर्मा लेख्छन्, ‘तारुण्यको जोसमा होस समाल्न सकिनन् र गाउँको डोटेल जैसीसित भागेर आसाम पुगिन् ।’ शर्माको यो भनाइले योगमायालाई बिग्रेर बिहे गरेकी मान्छ । नेपालले त झनै हेप्ने भाषामा लेखेका छन्, ‘पतिता तिरस्कृता बन्दै मुगलान पसी फूलबारी कमानमा पुगी पुनः एक डोटेल बाहुनसँग बसिन् ।’ उनीहरूका लागि योगमायाले प्रेम र विवाह गर्नु नै एक अपराध थियो । त्यसैले पापको प्रायश्चित्त जरुरी भयो ।
बालविधवाले उमेर पुगेपछि बिहे गर्नुलाई नै परपुरुष र परस्त्रीगमन मान्ने हो भने बालविधवा बनाउने वर्णाश्रम परम्परालाई पनि सही ठहर्‍याउनुपर्ने हुन्छ । प्रायश्चित्त नै गर्नेभए त्यही परम्परालाई कुरीति मानेर विद्रोह गर्नु किन पर्‍यो ? प्रायश्चित्त गर्ने मनसाय कुनै कारणले योगमायाको मनमा जन्मेको भए उनी हामीले चिनेकी विद्रोही योगमाया बन्न सक्थिन् ? पुरुषतन्त्रको विरुद्ध त्यत्रो धावा बोल्न सक्थिन् ? आसामबाट एउटा इरादासहित फर्केर आइसकेकी योगमायालाई उपन्यासमा त झन् कति निरीह र द्विविधाग्रस्त देखाइएको ?
राणाकालमा नेपालको पूर्वी र मध्यपहाडबाट बसाइ सरेर दार्जिलिङ, सिक्किम, आसाम, मनिपुर, बर्मा, भुटानतिर जानेको लर्को थियो । यताका साहु, सामन्तहरूको अत्याचार र शासकहरूको कोपभाजनबाट उम्कन धेरै मानिस त्यतातिर बसाइ सर्थे । अन्तरजातीय र योगमायाको जस्तो वर्णाश्रम व्यवस्था उल्लंघन गर्दै विद्रोही प्रेम गर्नेहरू पनि यताको अत्याचारबाट बच्न भागेर त्यता पुग्थे । योगमाया पनि त्यसरी नै आसाम पुगेकी थिइन् भन्न सकिन्छ ।
बारबरा निम्री अजिजको कृति ‘येअर टु अ साइलेन्ट सङ : टु रिबेल विमेन अफ नेपाल’ मा योगमायाले आसाममा कस्तो वातावरण पाएकी हुन सक्छिन् भन्नेबारे तथ्यसंगत व्याख्या गरिएको छ । अजिजका अनुसार, योगमायालाई सन्तमार्गमा लाग्न र आफ्नै गाउँ फर्कन केले प्रेरित गर्‍यो भन्ने रहस्यको गर्भमै छ । त्यतिबेलाको दार्जिलिङमा जोसमनी सन्तहरूको गतिविधि उल्लेखनीय थियो । पश्चिम बंगाल क्षेत्र त्यतिबेला कम्युनिस्ट आन्दोलन, अंग्रेजविरोधी आन्दोलन, ब्राह्मणवादविरोधी सुधारवादी हिन्दु आन्दोलनहरू तथा बौद्धिक गतिविधिका कारणले पनि उथलपुथलकारी ठाउँ थियो । तिनै आन्दोलनहरूबाट योगमायाले धेरै कुरा सिकेको हुन सक्छ ।
यो प्रसंग उपन्यासमा नभएको होइन । तर, योगमायाको निर्माण फगत प्रायश्चित्त वा वैराग्यको परिणाम हो कि सामाजिक विद्रोहको दरिलो संकल्प ? यो प्रश्नमा आएर उपन्यासकार पुरै कन्फ्युज्ड देखिन्छिन् । शर्मा र नेपालको इतिहासलेखनको मनसाय ख्याल नगरी उनले पूरै विश्वास गरेकी छन् । नेपालका शब्दमा ‘पूर्वचरित्रमा पश्चात्ताप गर्दै उनले जोगमार्ग लिइन् ।’ किनभने उनका निम्ति पतिव्रता धर्ममा योगमाया उत्तीर्ण हुन सकेकी थिइनन् ।
अजिजले अनुसन्धानका क्रममा भेटेकी योगमायाकी चेली मनमाया भन्छिन्, ‘हजुर पोइला जानुभयो । वहाँ तेसबेला भर्खरकी केटी हुनुहुन्थ्यो तर हेर्नुस् त कति सहासी ?’ योगमायाका अनुयायीले समेत बुझेको यो सहसलाई निहारिकाले ध्यान नदिनु दुःखद कुरा हो । योगमाया जातप्रथाको समेत विरुद्ध थिइन् । अजिजसँगको भेटमा मनमायाले पनि स्थानीय राई समुदायका महिलासँग तुलना गर्दै हिन्दु महिलाहरू पितृसत्ताको चपेटामा परेर साह्रै दुःख पाएको उल्लेख गरेकी छन् । राई महिलाजस्तै स्वतन्त्र हुने उनको इच्छा छ ।
योगमायाका कविताहरूले नै शर्मा र नेपालको व्याख्यालाई गलत सावित गर्छन् । जुद्धशमशेरलाई पठाएको मागपत्रको पहिलो बुँदामै बालविवाह रोक्न माग गर्ने र आफ्ना कवितामार्फत पुरुषले धेरै पत्नी राख्न पाउँछ भने महिलाले किन धेरै लोग्नेसँग बिहे नगर्ने भनेर चुनौती दिने योगमायाले कथित् पतिव्रता धर्म पालन गर्न नसकेकोमा पश्चात्ताप गरिन् होला ? भोजपुरको गाउँमा भन्दा धेरै खुला वातावरण आसाममा थियो । त्यहाँ जान र बस्न त्यसैले योगमाया दम्पतीलाई सहज भयो । अब छोरीसमेत भैसकेपछि अचानक विधवापनको त्यत्रो नियास्रो कसरी लाग्न सक्छ ? त्यो पनि योगमायालाई ?
योगमायाले ‘अग्निसमाधि’ भनिने गरेको आगोमा हाम्फालेर अन्तिम धक्का दिन खोजिन् । त्यो प्रयासलाई सरकारी सैनिकले रोकिदिएपछि अरुणको उर्लंदो भेलमा बगेर प्राण आहुति दिने बाटो रोजिन् । पुरुषवादी र वर्णाश्रम व्यवस्थाको पक्षपाती इतिहासकारले योगमायाको इतिहास पनि नारीद्वेषी कलमले नै लेख्नु अनौठो होइन । पतिव्रता धर्मको कुरा ल्याएर योगमायाको निर्माण नै प्रायश्चित्तको बाटोबाट भएको मान्नु नै सबैभन्दा ठूलो नारीद्वेषी विचार हो । नेपालले त झन् योगमायाका निम्ति ‘बुढिया’, ‘जोगिनी बूढी’ जस्ता विशेषण नै प्रयोग गरेका छन् । योगमायाका अनुयायीहरू जेल परेको प्रसंगमा योगमायाकै अनुयायी प्रेमनारायणलाई ‘स्वामीजी’ सम्बोधन गर्ने नेपालले ‘आइमाइ जति तीन महिनाभित्र छुटे’ भनेर महिला अनुयायीलाई होच्याउन खोजेका छन् । योगमायालाई ‘पूर्वपातक’ भन्ने उनले बालविधवा बनाउने वर्णाश्रम व्यवस्थाप्रति असन्तोषसम्म पनि व्यक्त गरेका छैनन् ।
अजिजको भनाइमा योगमाया त्यतिबेला नारी मुक्तिको खँदिलो लडाइँ लडिरहेकी थिइन्, जतिबेला अमेरिकामा समेत नारीवादी आन्दोलन भएकै थिएन । भोजपुरको दिङ्लामै त्यतिबेला बालागुरु षडानन्दको पनि संस्कृत पाठशाला थियो । उनको संगठनले योगमायालाई भत्सर्ना गर्थ्यो । सनातन धर्मका यी अनुयायीको समर्थन गर्दै नेपाल योगमायाबोरे लेख्छन्, ‘आफूलाई एक चूकमा दश खोट लगाउने उच्च संस्कृत वर्गको अनेकौं खोट फेला पारेर खुनखोत्रो गरेर खोतलेर खोइलोपाइलो उतार्न थालिन् । राज्यका कर्णधार शासक कर्मचारी सनातनी बाहुन साहुजन सबका सब उनका लेखा आँखी बनेका थिए ।’ यो वर्णनले नेपाल स्पष्ट रूपमा योगमायालाई बालविधवा घोषित गर्ने सनातनी बाहुन, गरिब जनतालाई चक्रवर्ती ब्याज लगाउने साहुजन र अत्याचारी शासन चलाउने शासक कर्मचारीको पक्षमा छन् भन्ने बुझाउँछ ।
त्यसो हुँदैमा कुटी वा आश्रममा बस्ने कुनै धर्मगुरुसँग उनको तुलना हुन सक्दैन । उनले राणाशासनसँग आँखा जुधाउने हिम्मत गरेकी छन् । गरिब किसान र स्थानीय जनजातिलाई मिटर ब्याज लगाउने र जाली तमसुक बनाएर जग्गा हडप्ने साहु, महाजनको विरुद्ध ठूलो विद्रोह गरिन् । अजिजले लेखे झैं एक बिग्रेकी आइमाई, धर्मछाडा, जातपात नमान्ने अशुद्ध नारीको रूपमा उनको छवि बनाउने र बाँचेको मौखिक इतिहासबाट पनि उनलाई नामेट पार्ने प्रयास भने पछिसम्म पनि भैरह्यो । इतिहासका यस्तै भर्सनलाई सत्य मानेर आख्यान लेख्ने हो भने इतिहासका कति नारी फात्रमाथि अन्याय हुन्छ होला त ?
[email protected]

Page 24
कोसेली

सबटाइटलको जित !

- यज्ञश
अनुवादकका साथ ओस्कर मञ्चमा निर्देशक बोङ । 

फिल्मका लागि कथाको महत्त्व कति हुन्छ ? यो प्रश्न सधैं उठिरहन्छ । एकथरी मानिस भन्छन्, कथा नै त फिल्मको आत्मा हो । अर्काथरी भन्छन्, कथा एउटा कच्चा पदार्थ मात्र हो । फिल्मका लागि यो धेरै महत्त्वपूर्ण कुरा होइन ।
फिल्मका लागि कथा एउटा धागो हो । जसरी फूलका थुंगालाई धागोले मालाका रूपमा बाँधेर राख्छ, त्यसैगरी कथाले दृश्यहरूका थुंगालाई एउटा निश्चित आकारमा बस्न बाध्य पार्छ । फिल्मलाई खास आकार दिने काम पटकथा, छायांकन, सम्पादन र प्रोडक्सन डिजाइनजस्ता विधाले दिन्छन् । र, यी सबै पोयोहरूलाई बाटेर बलियो डोरो बनाउने काम हो, निर्देशकको । जसरी माटोबिना इँटा बन्दैन, धागोबिना कपडा बन्दैन, त्यसैगरी कथाबिना आख्यान बन्दैन । र, आख्यानबिना ‘प्यारासाइट’ बन्दैन । अनि, इतिहास बन्दैन ।
यो हप्ता इतिहास बन्यो । दक्षिण कोरियाली निर्देशक बोङ जो हुको फिल्म ‘प्यारासाइट’ ले उत्कृष्ट फिल्म, निर्देशक, अन्तर्राष्ट्रिय फिल्म र पटकथाजस्ता महत्त्वपूर्ण विधामा ओस्कर जितेर यो इतिहास लेख्यो । अंग्रेजीबाहेकको भाषामा बनेर पनि उत्कृष्ट फिल्मको ओस्कर जित्ने ९२ वर्षको इतिहासमा यो पहिलो फिल्म बन्यो । त्यस्तै, विदेशी भाषा र उत्कृष्ट फिल्म दुवैमा जित्ने पनि यो पहिलो फिल्म बन्यो । यसै वर्षको सुरुतिर प्रसिद्ध क्यान फिल्म फेस्टिभलमा पनि यसले यस्तै रेकर्ड बनाएको थियो । यो फिल्म क्यान जित्ने पहिलो कोरियन फिल्म बनेको थियो ।
बोङ जोन हु हलिउडका लागि पनि नयाँ निर्देशक होइनन् । यसअघि नै ‘मेमोरिज अफ मर्डर’ र ‘द होस्ट’ जस्ता फिल्मबाट उनी स्थापित भइसकेका थिए । बोङ दुई वर्षअघिको नेटफ्लिक्स फिल्म ‘ओक्जा’ पछि अझै चर्चामा थिए ।
बोङले ओस्कर जितेपछि अब दक्षिण कोरिया सिनेमाको नयाँ शक्तिका रूपमा उदाएको छ । यसका लागि कोरियाले फिल्ममाथि कति लगानी गर्‍यो भन्ने अलग कथा छ । कुनै बेला हलिउडको कब्जामा पुगिसकेको बजारलाई त्यसबाट निकाल्न कोरियाले ठूलो मिहिनेत र लगानी गरेको थियो । फिल्म एकेडेमी खोलेर युवाहरूलाई फिल्म पढाउनेदेखि फिल्म फेस्टिभलको आयोजनासम्म कोरियाले कुनै कसर बाँकी छोडेको थिएन । त्यही फिल्म एकेडेमीबाट १९९० मा ग्र्याजुयट गरेका बोङले तीस वर्षमा ओस्कर नै जिते ।
उनले आफ्नो ओस्कर भाषणमा मार्टिन स्कोरसेजीको एउटा भनाइ उद्धृत गरे, ‘जे सबैभन्दा वैयक्तिक हुन्छ, त्यो नै सबभन्दा बढी सिर्जनशील हुन्छ ।’ उनले भने, ‘यो कुरा मैले फिल्म एकेडेमीको विद्यार्थी छँदा पढेको थिएँ र यसबाट निकै प्रभावित थिएँ ।’ उनले मार्टिन स्कोरसेजीका फिल्मबारे नै एकेडेमीमा अध्ययन गरेका थिए । र, क्विन्टन टेरन्टिनोको आफूमा निकै प्रभाव रहेको बताउने गरेका थिए ।



रोचक त के भने, यसपालि उत्कृष्ट निर्देशकमा उनीसँग यी दुवै प्रतिस्पर्धी थिए । स्कोरसेजी नेटफ्लिक्स ड्रामा ‘द आइरिसम्यान’ का लागि र क्विन्टन ‘वन्स अपन अ टाइम इन हलिउड’ का लागि । बोङले यी दुवैलाई पछि पार्नु भनेको खासमा उनको मात्र जित होइन, यो जित हो कथाको । कथाको खोजी र वाचनको शैलीको । बोङको यो जितको सबभन्दा ठूलो अर्थचाहिँ एक लाइनमा भन्न सकिन्छ । त्यो हो— संसारले अब अंग्रेजीबाहेकका भाषा पनि बुझ्छ ।
तिमीसँग सुन्दर कथा र त्यसलाई भन्ने मौलिक शैली छ भने त्यो जुनसुकै भाषामा भन, संसारले सुन्छ । सिनेमाको भाषाले पात्रको भाषालाई जितेको प्रमाणको रूपमा यसलाई लिन सकिन्छ । यसलाई केही अमेरिकनहरूले सबटाइटलको जितका रूपमा पनि व्याख्या गरेका छन् । संसारका विभिन्न भाषाका फिल्मलाई दृश्यसँगै सबटाइटल पनि पढेर बुझ्ने हामीजस्ता दर्शकका लागि सबटाइटल सिनेमा एउटा छुट्टै ‘जनरा’ नै हो । अझै कतिपय त अंग्रेजी फिल्मसमेत सबटाइटल पढेर बुझ्नेछौं । यस्तोमा एकेडेमी अफ मोसन साइन्स एन्ड पिक्चर्सका झन्डै सात हजार सदस्यले खाँट्टी अंग्रेजीको ‘१९१७’, ‘आइरिसम्यान’ र ‘वन्स अपन अ टाइम इन हलिउड’ को सट्टा ‘प्यारासाइट’ लाई मत दिनु भनेको ओस्करमा सबटाइटलको जितका रूपमा समीक्षकहरूले व्याख्या गरेका छन् ।
बोङले ओस्कर समारोहमा कोरियन भाषा नै बोले । यसलाई एक अनुवादक महिलाले अंग्रेजीमा उल्था गरिन् ।
आफ्नो फिल्मजस्तै बोङले ओस्कर समारोहलाई पनि उल्था र सबटाइटल समारोह बनाइदिए ।
‘प्यारासाइट’ एउटा यस्तो आँखीझ्याल बनेको छ, जसबाट संसारले एसियालाई हेर्नेछ । सत्यजित रे र अकिरा कुरोसावाले पाएको मानार्थ ओस्कर धेरै वर्षसम्म एसियाका गर्व रहे । त्यसपछि पनि कहिले रिचर्ड एटनवरो र त कहिले ड्यानी बोयलका ‘गान्धी’ र ‘स्लमडग मिलेनियर’ का ठिमाहा कथामा एसियाको गर्वले आफ्नो मुख लुकाइरह्यो । ताइवानका निर्देशक आङ लीले बल्लबल्ल मुख देखाउनलायक बनाएका थिए । त्यसमा एआर रहमानले संगीतको धुन जोडिदिएका थिए ।
पछिल्लो समय थ्री एमिगोज– अलेहान्द्रो गोन्जालेज इनारितु (बर्डम्यान र द रेभेनान्ट), एल्फोन्सों कुरों (ग्र्याभिटी र रोमा) र गुर्लिरमो डेल टोरो (सेप अफ द वाटर) ले स्पेनी भाषा र मेक्सिकन सिनेमालाई ओस्करको पयार्य बनाइरहेका थिए । यी तीन स्पेनीभाषीले लगातारजसो पाँच वर्ष उत्कृष्ट निर्देशकको ओस्करमा कब्जा जमाए । इनारितु र कुरोंले त दुई दुईपटक यो अवार्ड जिते । त्यसमा ब्रेक लगाउने काम गरिदिए, बोङले ।
विश्व सिनेमामा एसिया भन्नाले मुख्यतः जापान, चीन र कोरियालाई बुझाउँछ । कुनै बेला एसियाको शक्ति राष्ट्रका रूपमा अमेरिकासँग युद्ध लडेको र एसियाको ठूलो भूभाग (चीन र कोरियासमेत) लाई कब्जामा लिएको जापान सिनेमामा पनि ठूलो शक्ति हो । चीनले ठूलो आर्थिक फड्को हान्नुअघिसम्म जापान नै अमेरिकापछि हलिउडको ठूलो बजार थियो । अहिले त्यो स्थान चीनले लिइसकेको छ ।
जापान र चीनका साथमा कोरिया अर्को ठूलो बजार हो । प्रविधि र सिनेमा उद्योगमा कोरिया पनि तीव्र गतिमा अघि बढिरहेको शक्ति हो । यस्तै, हङकङ, ताइवान, भारत, इरान, मंगोलिया आदि देशका फिल्मले पनि बेलाबेला उपलब्धिहरू हासिल गरिरहेका छन् ।
संसारको सबभन्दा धेरै जनसंख्या बसोबास गर्ने तर विकास र जीवनस्तरमा पछाडि रहेको एसिया कथाको मामिलामा निकै धनी छ । विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको वैभव एसियासँग छ । त्यसबाहेक जहाँ गरिबी छ, त्यहाँ द्वन्द्व छ । जहाँ द्वन्द्व छ, त्यहाँ कथा छ ।
‘प्यारासाइट’ पनि यही गरिबी र द्वन्द्वको कथा हो । यो दक्षिण कोरियाको राजधानी सियोलका दुई परिवारको आवरणमा दुई वर्गको कथा हो । एकै सहरमा रहेको दुई समाजको कथा हो । दुई जीवनको कथा हो ।
एउटा गरिब परिवार घरको बेसमेन्टमा बस्छ, जसको घरमा घाम त के हावासमेत छिर्न मुस्किल छ । अर्को परिवारको यस्तो भिल्ला छ, जसका लागि घामसमेत ‘प्राइभेट’ भन्न सकिन्छ । यी दुई फरक जीवन र आर्थिकस्तर भएका प्राणीहरूको जम्काभेट भए के होला ? ‘प्यारासाइट’ त्यसको कथा हो । सतहमा हेर्दा धनका लागि गरिब परिवारले गर्ने बदमासी र ट्रिकहरूको कथा भए पनि यो खासमा वर्गीय द्वन्द्वको कथा हो । यो द्वन्द्वमा कोकसप्रति आश्रित छ, कुनचाहिँ परिवारले अरुको रगत चुसिरहेको छुट्याउने जिम्मा दर्शकलाई दिइएको छ ।
के धनीको सेवामा खटिएका सबै गरिब परिजीवी हुन् त ? वा सारा गरिबहरूले काम गरेर पालिदिने, सुविधा पुर्‍याउने धनीहरू जो उनीहरूलाई ज्यालामा ठग्छन्, उनीहरूको श्रमबाट नाफा आर्जन गर्छन्, ती परजीवी हुन् ? यही द्वन्द्व ‘प्यारासाइट’ को कथा हो । यो कथा कुनै पनि एसियाली अथवा विकासशील देशका लागि आमकथा हो । त्यसलाई भन्नका लागि बोङले डार्क कमेडी र थ्रिलरको शैली अपनाए ।
फिल्मको भाषामा जाने हो भने, हरेक सटको डिजाइनदेखि रङमा निर्देशक बोङले अर्थ घुसाएका छन् । तपाईंले राम्ररी हेर्नुभयो भने गरिब परिवार र बेसमेन्टका दृश्यमा लगाइएको फ्रेम र धनी परिवारको फ्रेम नै फरक छ । सट साइज र रङको संयोजन फरक छ । लाइट र क्यामेरा एंगल फरक छ । कथा गहिराइमा गएसँगै घटना हुने स्थानको गहिराइसमेत तलतल जान्छ । जब त्यो गहिराइमा लुकेको रहस्य सतहमा आउँछ, त्यसले सबैको जीवनको लयलाई खल्बल्याइदिन्छ । पृथ्वीको गर्भबाट लाभा फुटेर निस्किएजस्तो वा भूकम्प आएजस्तो !
स्कोरसेजीले भनेजस्तै, फिल्मको पर्दामा के देखिन्छ भन्ने मात्र होइन, के–के कुरा देखिँदैन भन्ने पनि उत्तिकै अर्थपूर्ण हुन्छ । युरोपेली सिनेमामा पर्दाबाट बिस्तारै कथा गायब भइरहेको छ । युरोप शैली र शिल्पतिर बढी उत्सुक छ । यसले फिल्मलाई शुद्ध कलाका रूपमा विकास त गरिरहेको छ तर मानिसहरूको कथा र संघर्षप्रतिको आकर्षणलाई मारिरहेको पनि छ । हलिउडका लागि फिल्म अर्थोपार्जन, स्टारडम र ग्ल्यामरको उद्योग हो । यसैले त हरेक महिना दुईटा सुपरहिरो आकाशमा उडिरहेको देखिन्छन् ।
यस्तोमा बीचमा बसेर कथा र आख्यानको खोजी गर्ने जिम्मा एसियाले उठाएको छ । द्वन्द्व, अभाव र अघि बढ्ने चाहनाको हुटहुटीमा पिल्सिइरहेको एसियाली समाजको कथा कहिले ‘स्लमडग मिलेयिर’ बनेर ओस्करको मञ्चमा गुन्जिन्छ त कहिले ‘प्यारासाइट’ बनेर यसलाई चुस्न पुग्छ । भेनिस र बर्लिन फेस्टिभलहरूमा पुगेका ‘कालो पोथी’ र ‘सेतो सूर्य’ पनि यस्तै कथा हुन् ।
सोचनीय कुरा के छ भने ओस्कर एक किसिमले अश्वमेध यज्ञको घोडा हो । अश्वमेधको घोडाले जहाँजहाँ पाइला हाल्यो, त्यो जमिन यज्ञ गर्ने राजाको भएजस्तो ओस्कर पनि जहाँ जहाँ पुग्छ, त्यो बजार हलिउडको कब्जामा जाने खतरा हुन्छ । लामो समयसम्म ओस्करले अमेरिकी संस्कृति र हलिउडको बजार प्रभुत्वलाई फैलाउने काम गरेको हो । अमेरिकी सेनाले समेत हलिउड फिल्ममा लगानी गर्ने गर्थ्यो । विश्वसुन्दरीजस्ता प्रतियोगिताले सौन्दर्य प्रशाधनका सामाग्रीको विज्ञापन गरेजसरी ओस्करले पनि हलिउडकै प्रचार गर्छ ।
यस्तोमा सवालचाहिँ यो ओस्करमाथि ‘प्यारासाइट’ को चढाइ हो कि, ‘प्यारासाइट’ मार्फत हलिउडले आफ्नो हात अझै फैलाएको हो भन्ने हो ।
आउने दिनमा ओस्करप्रति एसियाको आकर्षण पक्कै बढ्नेछ । जसरी नेपाली फिल्महरू ठूला फिल्म फेस्टिभलहरूमा पुगेका छन्, त्यसैगरी ओस्कर पनि एक कदम नजिक आएकै हो । नेपाली वा यो क्षेत्रका सबैजसो फिल्म पश्चिमका लागि सबटाइटल फिल्म हुन् । क्यान, बर्लिन र भेनिसजस्ता ठूला फेस्टिभल सुरुदेखि नै सबटाइटलप्रति उदार थिए । ओस्कर पनि यसमा उदार देखिएको छ ।
कुनै फिल्मले ओस्कर वा ठूलो फेस्टिभलमा अवार्ड जित्नु, मनोनीत हुनु भनेको एउटा ट्रफीको मात्र कुरा होइन । यसले संसारभरको फिल्म बजारमा एकैपटक प्रवेशको ढोका खुल्नु हो । अब कुरा निर्भर गर्छ, हामीले बनाउने फिल्ममा । प्रवेशका अरू छिद्र पनि खुल्दै जानेछन् । के त्यो छिद्रलाई मूलद्वार बनाउन हामी तयार छौं ? हाम्रा फिल्ममेकर तयार छन् ?
मुख्य धाराका व्यावसायिक फिल्म बनाइरहेकाहरूको यतातिर ध्यान नहोला । प्रयोगात्मक मौलिक फिल्मको अभ्यास गरिरहेका र फिल्मको पढाइ गरिरहेको ठूलो युवा जमातमा अब यो निर्भर हुनेछ ।