You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

एमसीसी अनुमोदनमा अन्योल

बिनासंशोधन अनुमोदन गर्न नहुने नेकपा अध्ययन कार्यदलको निष्कर्ष । यथास्थितिमा अनुमोदन गरे गलत नजिर बस्ने ठहर
- दुर्गा खनाल

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली (प्रधानमन्त्री) र पुष्पकमल दाहाललाई शुक्रबार एमसीसीसम्बन्धी अध्ययन प्रतिवेदन बुझाउँदै कार्यदलका संयोजक झलनाथ खनाल । साथमा सदस्यहरू प्रदीप ज्ञवाली र भीम रावल । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय 

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धता जनाए पनि नेकपाको अध्ययन कार्यदलले बिनासंशोधन अघि बढाउन नहुने निष्कर्ष निकालेको छ । पार्टीको केन्द्रीय कमिटीबाट गठित कार्यदलले सरकारको चाहनाविपरीत प्रतिवेदन दिएपछि एमसीसी सम्झौताको भविष्यमाथि थप प्रश्न उब्जिएको छ ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले शुक्रबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा एमसीसी यथास्थितिमा अनुमोदन गर्दा नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डतामाथि प्रश्न उब्जिने र गलत नजिर बस्ने निष्कर्ष छ । झन्डै २० दिन लगाएर गरिएको अध्ययनबाट एमसीसी सम्झौता गर्दा पर्याप्त छलफल नभएको र नेपाल तल पर्ने खालका भाषा रहेको निष्कर्ष निकालिएको छ ।
कार्यदलले यो विषयमा अमेरिकासँग उच्च तहमा संवाद गर्न सरकारलाई सुझाव दिएको छ । ‘यथास्थितिमा एमसीसी संसद्बाट अनुमोदन गर्न सकिँदैन, यसलाई सुधार गर्नुपर्छ,’ कार्यदलका संयोजक खनालले कान्तिपुरसँग भने, ‘जस्ताका तस्तै अघि बढाए नेपालको पोजिसन अमेरिकाको भन्दा तल पर्छ, हाम्रो सार्वभौमसत्तामाथि प्रश्न उठ्छ ।’ उनले सम्झौता हुबहु अनुमोदन भए अन्य मुलुकहरूसँग सहमति सम्झौताका लागि नकारात्मक आधार बन्ने बताए । सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा समेत एमसीसी सम्झौताको तीव्र आलोचना भएपछि नेकपाले सबै धारणा र सम्झौतासम्बन्धी दस्तावेज अध्ययन गरी सुझाव दिन खनालको नेतृत्वमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको कार्यदल बनाएको थियो ।
कार्यान्वयनको चरणमा प्रवेश गरेको सम्झौता संशोधन र सुधार गर्न नसकिने अमेरिकाको प्रतिक्रिया आइसकेको अवस्थामा नेकपा कार्यदलले त्यसविपरीत खालको सुझाव दिएको हो । अमेरिकी राजदूत र्‍यान्डी बेरीले सरकारका अधिकारीहरूलाई भेटेर यसबारेमा जानकारी गराइसकेका छन् । एमसीसी सम्झौता नेपालकै जोडबलमा भएकाले र यसबाट नेपाललाई नै फाइदा हुने उनले बताउँदै आएका छन् । आफूलाई फाइदा नहुने ठाने निर्णय लिन नेपाल स्वतन्त्र रहेको पनि उनले नेपाली नेताहरूलाई बताइसकेका छन् । एमसीसीका विषयमा नेपालभित्र विवाद चर्किएपछि अमेरिकी अधिकारीहरूले नेपाल भ्रमणसमेत गरेका छन् । नेकपाको कार्यदलले काम गरिरहेका बेला एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आएर प्रधानमन्त्री ओली र कार्यदलका नेताहरूलाई भेटेका थिए ।

बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री रहेका बेला ०६८ सालमा एमसीसीको अनुदानका लागि नेपाल छनोट भएको थियो । लोकतान्त्रिक र मानव अधिकारप्रति प्रतिबद्ध मुलुकलाई एमसीसीले अनुदान दिने गर्छ । ०७० पुसमा विकासका अवरोध पहिचानका लागि नेपाली अर्थशास्त्रीहरूको समूह गठन गरियो र ०७१ माघमा एमसीसीले नेपाललाई सम्झौताका लागि छनोट गरेको जानकारी गराइयो । त्यतिखेर प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महत थिए ।
०७१ चैतमा सम्झौताको तयारीका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गरियो । ०७२ भदौमा सम्भावित परियोजनाबारे अध्ययन गर्न प्राविधिक अनुदान सहायता स्वीकार गर्नेसम्बन्धी सम्झौता भयो भने ०७४ जेठमा दुईपक्षीय वार्ता टोली गठन गरियो ।
०७४ भदौ १९ को मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गर्‍यो । शेरबहादुर देउवा नेतृत्व सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ०७४ भदौ २९ मा अमेरिका पुगेर सम्झौतामा हस्ताक्षर गरे । सम्झौताका क्रममा संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धता नेपालले गर्‍यो । त्यही प्रतिबद्धताका आधारमा ओली सरकारले संसद्मा अनुमोदनका लागि सम्झौता पेस गरेको हो । तर पार्टीको आन्तरिक रडाकोका कारण सम्झौता अनुमोदन ढिला हुँदै आएको छ ।
स्थायी कमिटी तहसम्मको विवाद हुँदा नेकपाका केही नेताले संसद्मा संकल्प प्रस्ताव पारित गरी प्रश्न उठेका विषयलाई स्पष्ट पार्ने योजना बनाएका थिए । तर केन्द्रीय कमिटी बैठकमा ठूलो संख्यामा नेताहरूले यसको विरोध गरेपछि कार्यदल बनाइयो । अब यो कार्यदलको सुझावलाई नेकपाले मान्छ कि क्रस गरेर जान्छ, यसले एमसीसी सम्झौताको भविष्य निर्धारण गर्नेछ ।

मुख्य पृष्ठ

‘अर्थ मन्त्रालय र एमसीसीबीच १४ वटा भित्री सम्झौता रहेछन्’

- कान्तिपुर संवाददाता

कार्यदलले के सुझाव दियो ?
एमसीसी सम्झौता सुधार नगरी लागू गर्न सकिँदैन, यथास्थितिमा अनुमोदन गरे नेपालको राष्ट्रिय हित हुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।

सम्झौतामा नेपालले सुधार गर्ने कि अमेरिकाले ?
यसबारेमा सरकारले अमेरिकासँग उच्च तहमा वात्चित गर्नुपर्छ । हामीले दस्तावेज अध्ययन गर्‍यौं । यसअघि मैले त्यति गहिरिएर अध्ययन गरेको रहेनछु । हाम्रो पक्षबाट राष्ट्रिय हितको धरातलमा उभिएर राम्रो ढंगले वार्ता गरिएकै छैन, सम्झौता गरिएकै छैन । सम्झौताको भाषा नेपालको राष्ट्रिय हितअनुसार छैन । अपमानजनक कुरासमेत छन् । ‘न्युयोर्क स्टेट’को कानुन नेपालमा लागू हुनेछ भन्नेसम्मका वाक्यांश सम्झौतामा छन् । यो लज्जास्पद कुरा होइन ?

सुधार गर्नैपर्ने गम्भीर कुरा के–के पाउनुभयो ?
हामीले दुइटा अध्यक्षलाई प्रतिवेदन बुझाएका छौं । उहाँहरूले अध्ययन गर्दै हुनुहुन्छ । उहाँहरूलाई अध्ययन गर्न करिब तीन दिन लाग्छ रे । त्यसपछि हामी सचिवालयको बैठक बस्छौं । सचिवालयमार्फत हामी सार्वजनिक गर्छौं । अनि प्रतिवेदनका ‘कन्टेन्ट’मा सबै कुरा बताउन सक्छौं ।

संसद्मा पेस भएको बाहेक अरू सम्झौता पनि रहेको कुरा आएको छ, के–के रहेछन् ?
मूल सम्झौता कार्यान्वयन गर्ने नाममा १४ वटा भित्री सम्झौता भएका रहेछन् । तिनमा गम्भीर कुरा छन् ।

ती अरू सम्झौता कस्ता हुन् ?
ती सम्झौता एमसीसी र अर्थ मन्त्रालयबीच भएका रहेछन् । परराष्ट्र मन्त्रालयको कुनै भूमिका छैन । यत्रो ठूलो सम्झौतामा परराष्ट्रको भूमिका हुनुपर्दैन ? नेपालको स्ट्यान्डर्डलाई ख्याल गर्नुपर्दैन ? हाम्रो सिस्टममै त्रुटि छ । परराष्ट्र नगईकन, उसको निगरानी नभईकन कुनै पनि अन्तर्राष्ट्रिय सम्झौता गर्न मिल्दैन । अहिले आधुनिक राष्ट्रहरूमा यस्तो गरिँदैन । अहिलेसम्मका प्रधानमन्त्री, मन्त्रीहरूले जे–जे काम गर्दै आए ती काममा परराष्ट्रको भूमिका छैन ।

कार्यदलले संसद्मा अनुमोदनका लागि पेस भएको मूल सम्झौताबाहेक अन्य सहायक सम्झौतासमेत रहेको तथ्य बाहिर ल्याएको छ । सहायक सम्झौताहरू गर्दा परराष्ट्र मन्त्रालयलाई गुमराहमा राखिएको संयोजक खनालले बताए । ‘मूल सम्झौता कार्यान्वयन गर्ने नाममा अर्थ मन्त्रालय र एमसीसीबीच १४ वटा भित्री सम्झौता भएका रहेछन्,’ उनले भने, ‘यत्रो ठूलो सम्झौतामा परराष्ट्रको भूमिका हुनुपर्दैन ?’ मूलबाहेक अन्य सम्झौताको कुरासमेत कार्यालयले बाहिर ल्याएपछि यसमा संशय चुलिएको छ ।
कार्यदलले एमसीसी अमेरिकाको ‘इन्डो–प्यासिफिक रणनीति’ (आईपीएस) अन्तर्गत हो कि होइन भन्ने विषयलाई केन्द्रमा राखेर अध्ययन गरेको थियो । कार्यदल संयोजक खनालले एमसीसी आईपीएसको अंग भए/नभएको विषयमा भने केही बताउन चाहेनन् । पार्टीले यो प्रतिवेदन क्रमशः सार्वजनिक गर्ने उनले जानकारी दिए ।
नेकपा नेताहरूले यसअघि पार्टी बैठकमा एमसीसी अमेरिकी सैन्य रणनीति भएकाले मुलुकको परराष्ट्र सम्बन्धमा असन्तुलन आउन सक्ने, सम्झौताका प्रावधान नेपालको कानुन र संविधानभन्दा माथि रहने, परियोजनाको लेखापरीक्षण, कर्मचारी भर्नालगायत कतिपय बुँदामा अस्पष्टता रहेको भन्दै आपत्ति जनाएका थिए । समय लम्बिँदै जाँदा नेकपाका शीर्ष नेताहरूले नै बढी सशंकित हुँदै अभिव्यक्ति दिएका थिए ।
सत्तारूढ दलका नेताहरूबाट प्रश्न उठेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसीबारे १० बुँदे स्पष्टीकरण सार्वजनिक गरेको थियो । जसमा एमसीसीमा कुनै सैन्य मामिला नजोडिएको, एमसीसी परियोजनामा अमेरिकी कानुनले सैन्य संलग्नतालाई निषेध गरेको, अनुदानमा कुनै स्वार्थ नजोडिएको उल्लेख थियो । तर दूतावासको स्पष्टीकरणबाट नेकपा नेताहरू सन्तुष्ट भएनन् । झन्डै ५५ अर्ब रुपैयाँ अनुदान आउने यो सम्झौता अन्तरदेशीय प्रसारण लाइन र सडक निर्माणसँग सम्बन्धित छ । यसमा नेपालले करिब १३ अर्ब रुपैयाँ खर्च गर्ने भनिएको छ । कार्यदल संयोजक खनालले भने ५५ अर्ब सहयोग नेपालको सार्वभौमसत्ता र स्वाभिमानभन्दा ठूलो हुन नसक्ने प्रतिक्रिया दिए । ‘अमेरिका स्वच्छ मनले नेपाललाई सहयोग गरेको हो भने उ संशोधनका लागि तयार हुनुपर्छ,’ उनले भने । एमसीसी सम्झौताको पक्षमा वकालत गर्दै आएका कार्यदल सदस्य एवं परराष्ट्रमन्त्री ज्ञवालीसँग कुरा गर्न खोज्दा भने सम्पर्क हुन सकेन ।
गम्भीर कुरा रहेकाले यस विषयमा सिंगो राष्ट्र एकताबद्ध हुनु जरुरी छ । हाम्रा कतिपय नेता हचुवाको भरमा अनुमोदन नगरी हुँदैन, ५० करोड (डलर) आदि भन्दै हिँड्नुहुन्छ । हाम्रा लागि ५० करोड डलर केही पनि होइन । यो देशको स्वतन्त्रता र स्वाभिमान सबभन्दा ठूलो कुरा होइन ?

यो सम्झौतालाई जस्ताको तस्तै अनुमोदन गर्दा हाम्रो मुलुकलाई के थ्रेट आइपर्छ ?
जस्ताका तस्तै पारित गर्दा नेपालको पोजिसन अमेरिकाको भन्दा तल पर्छ । हाम्रो सार्वभौमसत्तामाथि प्रश्न उठ्छ । त्यसले गलत नजिर बसाउँछ, जसले गर्दा अरू देशसँग गर्ने सहमति सम्झौताका लागि पनि नकारात्मक आधार तयार हुन्छ ।

अमेरिकाले संशोधन गरेन भने हामीलाई आउने यत्रो ठूलो पैसा त खेर जाने भयो नि ?
नेपालको स्वतन्त्रता, स्वाभिमान, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताभन्दा ठूलो कुरा यो दुनियाँमा कुनै पनि छैन । जतिसुकै ठूलो अनुदान पनि नेपालको स्वतन्त्रता र सम्मानभन्दा ठूलो हुँदैन । अमेरिकाले हामीलाई सद्भावपूर्ण ढंगले सहयोग गरेको हो भने उसले संशोधन गर्छ । हामीले अमेरिकाविरुद्ध केही भनेका छैनौं र केही भन्दा पनि भन्दैनौं । खालि हाम्रो स्वाधीनता, स्वतन्त्रता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहन्छौं । अमेरिकासँग मैत्रीपूर्ण सम्बन्ध चाहन्छौं । हामी पारस्परिक सहयोगको सम्बन्ध विकास गर्न चाहन्छौं । उनीहरूले
सद्भावपूर्ण सहयोग गरेका हुन् भने हामी लिन्छौं तर एउटा पूर्ण सम्मानका साथ । जुन
खालका दस्तावेज बनेका छन्, ती अपमानजनक छन् ।

प्रधानमन्त्रीले त यसअघि नै अनुमोदन हुन्छ भनिसक्नुभएको छ, तपाईंहरूले दिएको सुझाव सरकारले मान्छ त ?
अहिलेसम्म ज–जसले पक्ष, विपक्षमा जे–जे बोल्नुभयो ती सबै सन्दर्भ सामग्रीबाहेक केही पनि होइनन् । हाम्रो कार्यदल केन्द्रीय कमिटीको पूर्ण बैठकले गठन गरेको सर्वशक्तिमान हो । कार्यदलले जुन सुझाव दिएको छ, त्यसलाई पार्टीले गम्भीर रूपमा लिन्छ । मलाई लाग्छ, ती सुझावअनुसार पार्टी र सरकार अघि बढ्छन् ।

प्रधानमन्त्री मान्नुहुन्छ र ? उहाँको भूमिका के हुन्छ ?
प्रधानमन्त्रीको भूमिका यसमा सकारात्मक हुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।

अध्यक्षहरूले प्रतिवेदन बुझेपछि के भन्नुभयो ?
उहाँहरूले समयमा काम सक्नुभयो भन्दै हामीलाई धन्यवाद दिनुभयो । सचिवालयको बैठक बसेर क्रमशः सार्वजनिक गर्ने कुरा भएको छ ।

पार्टीले पूर्ण रिपोर्ट नै सार्वजनिक गर्छ ?
क्रमशः गर्छौं । मलाई लाग्छ, पार्टीमा सर्वसम्मति नै हुन्छ ।

प्रतिवेदनमा तीन सदस्यीय कार्यदलकै सर्वसम्मति छ कि फरक मत छ ?
तीन जनाकै सर्वसम्मति छ ।

तर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त यसअघि नै अनुमोदन हुन्छ भन्नुभएको थियो नि ?
उहाँ पनि सहमत हुनुहुन्छ । एकमतसाथ कार्यदलको रिपोर्ट दिएका हौं ।

– झलनाथ खनाल, अध्ययन कार्यदल संयोजक 

मुख्य पृष्ठ

सुरक्षा प्रेससम्बन्धी सबै प्रस्तावमा साँठगाँठ

- देवेन्द्र भट्टराई

सुरक्षा मुद्रण प्रेस स्थापनाका लागि खरिदसम्बन्धी प्रस्तावहरूमा सरकारी निकाय र सम्बद्ध कम्पनीका एजेन्टहरूबीच अस्वाभाविक साँठगाँठ भएको पाइएको छ । प्रेस स्थापनामा इच्छुक स्विस कम्पनी केबीए नोटासिस, फ्रान्सको आईएन ग्रुप र जर्मन कम्पनी भेरिडसका प्रतिनिधि र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच नै यस्तो चलखेल भएको हो ।
पछिल्लो समय सुरक्षा मुद्रण प्रेस स्थापना प्रक्रियाबाट पन्छाइएको स्विस कम्पनी केबीए नोटासिसका स्थानीय एजेन्ट भनेर चिनिएका विजयप्रकाश मिश्रकै प्रभावमा परराष्ट्र मन्त्रालयले स्विस दूतावासलाई २०७५ मंसिरमा पत्र पठाएको पाइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आग्रहमा पत्र लेखिएको जनाउँदै परराष्ट्रले सुरक्षा मुद्रण प्रेस स्थापना प्रक्रियामा आइपर्ने वैदेशिक लगानी तथा स्रोतको अभाव परिपूर्तिमा सहयोगका लागि आग्रह गरेको छ । सञ्चार मन्त्रालयले परराष्ट्रलाई २०७५ कात्तिक ३० मा अनुरोधपत्र पठाएको र सोही आधारमा परराष्ट्रले नेपालस्थित स्विस दूतावासलाई मंसिर ६ मा पत्र पठाएको पाइएको छ । त्यसको जवाफमा स्विस दूतावासले २०७५ मंसिर ६ मा पत्राचार गरेको रेकर्डमा उल्लेख छ । सञ्चार मन्त्रालयले यसबारे पुस ४ मा बैठक बस्ने निधो गरेको थियो तर बैठक बस्न सकेन ।
सेक्युरिटी प्रेसबारे परामर्श गर्ने क्रममा ‘स्विस राजदूत स्वयंले निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग मन्त्रालयमा भेटवार्ता गराएको’ दाबी गर्दै एजेन्ट मिश्रले यसको पृष्ठभूमिमा परराष्ट्रको पत्रले सहयोग गरेको लेखा समितिलाई जानकारी दिएका थिए । तर, स्विस दूतावासले भने सुरक्षा प्रेस सरोकारमा सञ्चारमन्त्रीसँग आफ्नो नियोगका कुनै पदाधिकारीले कहिल्यै भेटवार्ता नगरेको भन्दै विज्ञप्ति जारी गरिसकेको छ ।

सतह एउटा, गहिराइ अर्कै
बाहिरी सतहमा सुरक्षा प्रेसका हकमा फ्रान्सको आईएन ग्रुप र जर्मनीको भेरिडस कम्पनीको मात्रै नाम आए पनि प्रस्ताव तुलनाका निम्ति लेखा समितिले पोल्यान्ड, जापान, स्विट्जरल्यान्डको समेत विस्तृत विवरण संकलन गरिसकेको थियो । ‘तर, केही संयोग यस्तो देखियो कि छानबिनमा जानैपर्छ भन्ने स्थिति आयो,’ लेखा समिति सदस्य सांसद धर्मशिला चापागाईंले कान्तिपुरसँग भनिन्, ‘एकातर्फ हामीलाई बाँडिएको जानकारीमा फ्रेन्च कम्पनी आईएन ग्रुपका नेपाल प्रतिनिधि यति होल्डिङ्सका सोनाम शेर्पा रहेको र उनीमार्फत आईएन ग्रुपसँग नेपाल सरकारले समझदारीपत्रमा हस्ताक्षर गरेको थाहा भयो । अर्कातर्फ, जर्मनी कम्पनी भेरिडसका जर्मन एजेन्ट फ्लोरियन प्याकुलिन विगतमा काठमाडौंमा एमआरपी छपाइ क्रममा फ्रेन्च ओबर्थर समूहका प्राविधिक रहेर काम गरिसकेको र उनको चलखेलका भरमा अहिले भेरिडसको प्रस्ताव अन्तिम छनोटमा आएको थाहा भयो ।’
लेखा समितिको बिहीबारको बैठकमा उपस्थित सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलतर्फ लक्षित गर्दै सांसद चापागाईंले ‘विगतमा ओबर्थर कम्पनीमा प्राविधिक सहयोगी भएर काम गर्दाका तपाईंका सहकर्मी फ्लोरियन प्याकुलिन अहिले आईएन ग्रुपमा जानासाथै तपाईं दोहोरो भ्रमण, आवतजावतका सेटिङ मिलाउनमा लाग्नुभएको रहेछ’ भन्दा विकल ‘नाजवाफ’ भएका थिए । आईएन ग्रुपसँग साँठगाँठ बढेपछि विकलसहित तत्कालीन सञ्चारमन्त्री बाँस्कोटालाई पहिलो चरणमा र अर्को पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत फ्रान्सको भ्रमण गराइएको थियो । यो भ्रमण सम्पूर्ण रूपमा सरकारी खर्चमा गरिएको थियो वा सुरक्षा प्रेस प्रस्तावक आईएन ग्रुपले गराएको थियो भन्नेमै लेखा समिति सदस्यहरूले संशय व्यक्त गरेका थिए ।
सरकार–सरकारबीचको सम्झौता प्रक्रिया भन्दैमा आश्वस्त हुन नसकिने तर्क राख्दै सांसद चापागाईंले यसको पछिल्लो र ज्वलन्त उदाहरणका रूपमा अस्ट्रेलियन पोलिमर नोट काण्डलाई भुल्न नहुने बताइन् । ‘जी–टू–जीका नाममा अन्तिम घडीमा क्राइटेरिया पुगेका पोल्यान्ड, जापानसहितका कम्पनीलाई किन प्रतिस्पर्धामा आउनै दिइएन ? आफ्नै लिंक भएका जर्मनी र फ्रेन्चलाई मात्रै यहाँसम्म किन ल्याइयो भन्ने बल्ल थाहा भएको छ,’ उनले भनिन्, ‘अबको चरणमा ७/८ महिनापछि पासपोर्ट संकट निम्तिनै लागेका अवस्थामा तत्कालको आपत्कालीन अवस्थामा उद्धार/संकट निवारणको उपाय के हुन सक्छ, त्यसतर्फ विचार पुर्‍याउनु जरुरी छ । सुरक्षा प्रेस स्थापनाका नाममा कमिसनको खेलकुदमाथि बहस गरिरहने हो भने आम जनसाधारणले व्यहोर्ने राहदानी संकटको कठिनाइ कसैले थेग्नै नसक्ने हुनेवाला देखिन्छ ।’

स्विस कम्पनीले बुझाएको राहदानीको नमुना ।

सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेलले आफैंले संशय बढाउने किसिमका तर्क संसद्को सार्वजनिक लेखा समितिमा राखेपछि सांसदहरूले सुरक्षा प्रेस स्थापनाको प्रक्रिया तत्काल रोक्नुपर्ने सुझाव दिएका थिए । बनेपाको आईटी पार्कमा निर्माण गर्ने भनिएको सुरक्षा प्रेसको प्रतिवर्गमिटर लगानी लागतको आकलन नमिल्दा उठेको प्रश्नमा विकलले ‘आफू सिभिल इन्जिनियर नभएकाले यसबारे थाहा नभएको’ भन्दै उम्कने जवाफ दिएका थिए । अरू सरोकारमा पनि नेपाल सरकारको सरोकार र आवश्यकताभन्दा पनि प्रस्तावक कम्पनीको ल्याकतबमोजिम प्रस्ताव स्वीकार गरिएको मनोगत जवाफ दिएका थिए ।
‘तपार्इंहरू बारम्बार जर्मनी, फ्रान्स, स्विट्जरल्यान्ड भ्रमणमा जानुभएको छ, कसको खर्चमा कुन प्रयोजनमा जानुभएको हो,’ सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकललाई सांसद मीनेन्द्र रिजाल, धर्मशिला चापागाई, विदुर खतिवडा, मोहम्मद इस्तियाक राईसहितले यो प्रश्न गरेपछि उनी अन्योलमा परेका देखिन्थे । ‘सबै खर्च नेपाल सरकारकै हो’ भनेर सुरुमा जवाफ दिए पनि पछि गोलमोटल भाषामा उनले ‘मेरो खर्च भने त्यही कम्पनीले बेहोरेको हो’ भनेर अर्को जवाफ दिए ।
‘प्रस्तावको तुलनात्मक अध्ययनमा जर्मनीको हाइडलबर्ग कम्पनीबाट पनि सुरक्षा प्रेसबारेको प्रस्ताव लिइएको छ, नेपालमै रहेका कायस्थ भन्ने एजेन्टले यसमा सहयोग गरेका थिए,’ लेखा समितिका एक सदस्य सांसदले भने, ‘पोल्यान्डको पनि मगाइयो । पोल्यान्डको प्रस्ताव पनि उही विजय मिश्रले लिएर आएका थिए ।’

ई–पासपोर्ट रद्दको कारण
सुरक्षा मुद्रण प्रेसमा स्विस कम्पनी केबीए नोटासिसको प्रस्ताव आएको पहिलो चरणमा गरिएको कमिसन ‘बार्गेनिङ’ प्रकरणमा बिहीबार मात्रै पद–प्रतिष्ठा गुमाएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गत असोजयता स्विस कम्पनीको प्रतिस्पर्धा वा छनोटको चरणलाई बाहिर पारिदिएका थिए । ‘जर्मनी र फ्रान्सका दुई कम्पनीको प्रस्ताव प्रतिस्पर्धामा थियो तर हाम्रो मूल्यांकनमा दुवै अयोग्य देखिन्छन्,’ सांसद चापागाईंले भनिन्, ‘दुवैमा चरम आर्थिक स्वार्थ लुकेको देखिन्छ । एउटामा विवादित यति होल्डिङ्स जोडिएको छ, अर्कोमा राज्य पद्धतिले पत्याएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलकै साँठगाँठ छ । अब नयाँ चरण र उपायबाट सुरक्षा प्रेस स्थापना प्रक्रिया अघि बढ्नुपर्छ भन्ने लाग्छ ।’
अरूभन्दा पनि अन्तर्राष्ट्रिय बोलपत्र आह्वानबाट ५० लाख ई–पासपोर्ट छाप्ने प्रक्रियाको अन्तिम घडीमा रातारात यो प्रक्रिया गत कात्तिक २१ मा रद्द गरिएकोमा अहिलेसम्म नउठेको प्रश्न उठाउनुपर्नेमा सांसदहरूको एकमत छ । ‘यो सबै कमिसनको होडमा गरिएको रहेछ,’ लेखा समिति बैठकमा उपस्थित एक सत्तारूढ सांसदले भने, ‘आज त्यो प्रक्रिया अघि बढेको भए अबको ८/९ महिनामा ई–पासपोर्ट उत्पादनको काम सुरु भइसक्ने थियो । तर, प्रधानमन्त्री ओली, सल्लाहकार विष्णु रिमालसहितको ‘ठाडो ब्रिफिङ’ मा परराष्ट्र मन्त्रालयसमेत अडानबाट पछि हट्यो । त्यसबेला यत्रो योजनाबाट बिना कारण पछि हटेकोमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सचिव शंकर बैरागीसहितलाई खेदो खन्ने काम गरियो तर यहाँ यति होल्डिङ्स, सुरक्षा मुद्रण निकायका पदाधिकारीको लिंकसहितको चर्को प्रभावले काम गरेको रहेछ भन्ने अहिले आएर थाहा भएको छ ।’
पछिल्लो तथ्यांकमा झन्डै ६ लाख एमआरपी राहदानी विभागमा मौज्दातमा रहेको र यो अबको हिसाबमा झन्डै ८ महिनासम्म मात्रै पुग्ने भएकाले त्यसपछिको संकटका बारेमा परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण गराइसकेको छ । ‘हामीले आफ्नो तहबाट जतिसक्दो काम गरेका छौं, सेवाग्राहीको चित्त बुझाएकै छौं,’ राहदानी विभागका एक अधिकारी भन्छन्, ‘कहाँ कसले खेल्ने खेलका कारण पासपोर्ट छाप्ने प्रक्रिया रोकिएको छ, कमिसनको खेलकुद अरूतिर चलेको छ, मारमा भने हामी परेका छौं, जसको सुनुवाइ पनि कतै भइरहेको छैन ।’


स्विस कम्पनी केबिए नोटासिस
स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसाग निवर्तमान सञ्चारमन्त्री गोकुल बाास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक । मिश्रकै प्रभावमा परराष्ट्र मन्त्रालयद्वारा स्विस दूतावासलाई २०७५ मंसिरमा पत्र पठाएर वैदेशिक लगानी तथा स्रोतको अभाव परिपूर्तिमा सहयोगको आग्रह गरेको खुलासा ।

फ्रान्सेली आईएन ग्रुप
नेपाल ट्रस्टका अधिकांश जग्गा भाडा विवादमा मुछिएको यति होल्डिङ्सका सोनाम शेर्पा नै आईएन ग्रुपका पनि नेपाल प्रतिनिधि । उनीमार्फतै आईएन ग्रुपसँग समझदारीपत्रमा हस्ताक्षर ।

जर्मनी कम्पनी भेरिडस
जर्मन एजेन्ट फ्लोरिन प्याकुलिन र विकल पौडेलको चलखेलबाट अन्तिम प्रस्ताव छनोटमा परेको । एमआरपी छपाइका क्रममा फ्रान्सेली कम्पनी ओबर्थरमा रहादा सागै कार्यरत विकलले प्याकुलिन जर्मनी फर्किएर भेरिडसमा जोडिएपछि उनीमार्फतै चलखेल बढाएको ।

Page 2
समाचार

घाइतेको उपचारमा बेवास्ता

भारतमा बस दुर्घटना
तमिलनाडुको अस्पतालमा भर्ना गरिएका घाइतेलाई आफन्तले बंगलुरु, चेन्नई र भेलौर लैजान थालेका छन्
- सुरेशराज न्यौपाने

सरकारी अस्पतालमा उपचारमा लापरबाही भएको भन्दै दुर्घटनाका घाइतेलाई आफन्तले अन्यत्र लैजान सुरु गरेका छन् । दक्षिण भारतका तीर्थस्थल दर्शनका लागि सुनसरीबाट गएको बस बुधबार राति दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो भने २१ घाइते भएका थिए ।
तमिलनाडुको सालेममा भएको दुर्घटनापछि घाइतेलाई स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको थियो । घटनापछि त्यहाँ पुगेका आफन्तहरूले घाइतेलाई बंगलुरु, चेन्नई र भेलौर लान थालेका हुन् । कन्याकुमारीबाट तमिलनाडुको मीनाक्षी मन्दिर दर्शनपछि बुधबार राति महाराष्ट्रको नासिकतर्फ जाँदै गरेका बेला नेपाली तीर्थालुको बसलाई सालेम जिल्लाको ४४ नम्बर हाइवेमा विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको थियो । घाइतेमध्ये १४ जना शुक्रबार साँझसम्म सालेमकै सरकारी अस्पतालमा उपचाररत छन् । त्यसमध्ये एक जना महिला र एक पुरुषको अवस्था चिन्ताजनक रहेको तीर्थयात्रासँगै रहेका अमरनाथ चौधरीले फोनमा बताए । ‘उपचारमा भइरहेको लापरबाहीले बिरामी र तिनका आफन्तलाई चिन्तित बनाएको छ,’ उनले भने ।
घाइतेका एक आफन्तका अनुसार अस्पतालका चिकित्सक र कर्मचारीले बिरामीहरूको नियमित जाँच र परीक्षण पनि गर्ने गरेका छैनन् । कतिपय घाइतेलाई त्यत्तिकै बेडमा सुताइएको मात्र छ । न नियमित औषधि दिइएको छ न त जाँच नै नियमित गरिएको छ । दुर्घटनाका घाइतेमध्येका सदानन्द घिमिरेलाई शुक्रबार नजिकैको मनिपाल अस्पतालमा सारिएको छ । श्रीमती, सासू–ससुरा घाइते भएपछि काठमाडौंबाट त्यहाँ पुगेका घिमिरेका ज्वाइँ कुमार निरौला भने, ‘सरकारी अस्पतालको त्यस्तो अवस्थामा उपचार नहुने देखेर मनिपाल सार्नु पर्‍यो ।’ गम्भीर अवस्थामा रहेका घिमिरेको घाँटीको हड्डी भाँचिएको छ । ढाडभन्दा तल्लो भाग चलेको छैन । करङका ६ वटा हड्डी भाँचिएका छन् ।
अस्पतालका स्वास्थ्यकर्मीले हिन्दी र अंग्रेजी दुवै राम्ररी नबुझ्ने र नबोल्ने भएकाले दक्षिण भारतमा भाषाले नेपालीहरूलाई थप समस्या पारेको छ । भाषा नबुझिँदा घाइतेहरूको उपचार के कसरी भइरहेको छ भन्ने जानकारी पनि पाउन नसकेको चौधरीले बताए । ‘एक त व्यवहार पनि राम्रो छैन, अर्को भाषा पनि बुझिँदैन,’ उनले भने, ‘त्यसैले दोहोर्‍याएर सोध्न पनि मिल्दैन ।’
एकातिर उपचार सन्तोषजनक छैन भने अर्कोतर्फ आफ्ना सामान केकस्तो अवस्था छ भन्नेसमेत जानकारी छैन । दुर्घटनालगत्तै सबै सामानहरूलाई प्रहरीले स्थानीय चौकीमा पुर्‍याएको थियो । तीर्थयात्रामा जाँदा नेपाली तीर्थालुहरूले खान, बस्न र किनमेलका लागि नगद बोकेका थिए । लुगाफाटाका ब्याग थिए । सबैजसो घाइते भएका कारण उक्त चौकीमा लगिएका आफ्ना सामानको बारेमा थाहा नभएको उनीहरूले बताएका छन् । उपचारका लागि अन्यत्र गएकाहरू पनि सामान नलिँदै हिँडेका छन् । ‘प्रहरी चौकी पुगेर त्यो सामान लिन जाने अवस्था नै छैन । एक त भाषाको समस्या अर्को सबैलाई पहिले उपचार गरौं भन्नेछ,’ निरौलाले भने ।
आफूहरूले सास्ती खेपिरहँदा दिल्लीस्थित दूतावासबाट केही सहयोग नभएको भन्दै घाइते र तिनका आफन्त दुःखी छन् । घटनाको तीन दिन बितिसक्दा पनि दिल्लीस्थित नेपाली दूतावासबाट कोही पनि प्रतिनिधि सालेम पुगेका छैनन् । ‘दूतावासबाट फोनमात्र गर्नुभन्दा कोही आइदियो धेरै राहत हुन्थ्यो,’ चौधरीले भने, ‘अनि यहाँका डाक्टरहरूले पनि राम्ररी हेर्थे कि ।’
तर, दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले घटनाका बारेमा जानकारी पाएदेखि नै घाइतेहरूको उपचारका लागि भारतको विदेश मन्त्रालयमार्फत स्थानीय प्रशासनसँग समन्वय भइरहेको दाबी गरे । ‘उपचारमा त्यस्तो समस्या नहुनुपर्ने हो,’ उनले भने, ‘भाषामा समस्या हुन सक्छ । तमिलनाडु सरकार र केन्द्रीय सरकारले पनि आवश्यक सहयोग गरिरहेका छौं भनेर जानकारी गराएको छ ।’ आवश्यक परेको खण्डमा दूतावासका प्रतिनिधि पठाउनका लागि छलफल भइरहेको उनले बताए ।
दुर्घटनामा परेको को१ख ५३३४ नम्बरको बस ३४ यात्रु लिएर २३ माघमा सुनसरीको दुहबीबाट करिब एक महिनाको दक्षिण भारतको तीर्थाटनमा निस्केको थियो । तीर्थालुहरूले कन्याकुमारी, रामेश्वरम, मीनाक्षी मन्दिर, जगन्नाथ, बाबाधाम, गंगासार घुमिसकेका थिए । उनीहरूको तमिलनाडुको मदुराई गएर महाराष्ट्रको नासिक हुँदै राजस्थानको बाटो नेपाल फर्कने कार्यक्रम थियो ।

समाचार

‘हमरा थाहा नै छो’

- सुम्निमा चाम्लिङ

दुर्घटनामा श्रीमान् गुमाएकी इटहरी–१० की मीरादेवी चौधरी (दायाँ) आफन्तसँग । तस्बिर : सुम्निमा/कान्तिपुर 

दुर्घटनामा मृत्यु हुने सातमध्ये इटहरीको एउटै बस्तीका ६ जना परेका छन् भने अर्का एक जना विराटनगरका छन् । दुर्घटनामा तीन आफन्त गुमेपछि इटहरी–१० का लक्ष्मणकुमार चौधरीको परिवार शोकमा डुबेको छ । ७० वर्षीय बुबा रसिलाल चौधरी, ५५ वर्षीया आमा बुधनीदेवी चौधरी र फुपू ६० वर्षीया फूलसरी चौधरीको उक्त दुर्घटनामा निधन भएको छ ।
कन्याकुमारी र मीनाक्षी मन्दिर दर्शनका लागि उनीहरू घरबाट हिँडेका थिए । बर्सेनि तीर्थ गर्दै आएका दम्पती यस पटक पनि एक महिनाअघिदेखि निकै उत्साहित थिए । गत वर्ष पनि चौधरी दम्पती केदारनाथ र बद्रीनाथ पुगेका थिए । यो वर्ष जम्मा ६४ हजार रुपैयाँ खर्च गरेर तीर्थ हिँडेका थिए ।
गाउँटोलमा तीर्थ जान इच्छुक भेला पारेर लैजाने गरेका ठेकेदार अमरनाथ चौधरीले यस पटक पनि आफ्नै नेतृत्वमा लिएर हिँडेका थिए । यसपटकको यात्रामा भएको दुर्घटनाको खबरले सबैका आफन्त शोकाकुल छन् । उक्त दुर्घटनामा परेर ५५ वर्षीया मीरादेवी चौधरीले ५८ वर्षीय श्रीमान् टीकाराम चौधरीलाई गुमाएकी छन् । चार वर्षअघि दम्पती नै मीनाक्षी र कन्याकुमारी पुगिसकेकाले टीकाराम यसपटक तीर्थ जान खासै इच्छुक थिएनन् । तर स्थानीयको आग्रहमा उनले आफ्नो वडाका तीर्थयात्रीको नेतृत्व गर्नैपर्ने भयो । मीरा भने यसपटक घरको काम र नातिलाई छाडेर नजाने भनेपछि रोकिएकी थिइन् । ‘कते छो नै छो, बिरामी छो कि मोरल छो, हमरा थाहा नै छो (कहाँ छन् छैनन्, बिरामी छन् कि मरे भन्ने मलाई थाहा छैन),’ मीराले भनिन् । तीर्थयात्राबाट फिरेपछि बन्धकी राखेको सुन निकालिदिन्छु भनेको उनले भावुक हुँदै सुनाइन् । छोरी निर्मला र जेठा छोरा नवीन बुबाको शव लिन शुक्रबार भारततर्फ गएका छन् ।
यस्तै उनका छिमेकी मधुशाला राईको परिवार पनि शोकमा छ । उनीहरूले ६५ वर्षीय ससुरा वीरबहादुर आठपहरिया राईलाई गुमाए । सासूआमा मञ्जुदेवीको उपचार भइरहेको छ । ऐलानीमा बस्दै आएका दम्पती विगत एक दशकदेखि सानो किराना पसल गर्थे । बर्सेनि तीर्थ जाने गरेका उनीहरू यसपालि अन्तिम पटक दर्शन गर्न हिँडेका थिए ।
इटहरी–१० की महिला जनप्रतिनिधि मेनुका कार्की चौधरीका अनुसार नेपाली दूतावासले शव ल्याउन, मृतकको क्षतिपूर्ति र घाइतेको उपचारका लागि पहल गरिरहेको बताइन् । ‘तीर्थयात्रामा गएको टोलीमा दुर्घटनामा परेर मृत्यु हुने हाम्रो वडाका मात्रै ६ जना परेका छन्,’ उनले भनिन्, ‘वडा नै शोकमग्न छ ।’
तमिलनाडुमा भएको दुर्घटना मृत्यु हुनेमा ७० वर्षीय रसिलाल चौधरी, ५५ वर्षीया बुधनीदेवी चौधरी, ६० वर्षीया फूलसरी चौधरी, ५८ वर्षीय टीकाराम चौधरी, ६५ वर्षीय वीरबहादुर आठपहरिया राई, ५६ वर्षीय गोपाल तामाङ र विराटनगर कञ्चनबारीका ६० वर्षीय विष्णु दाहाल छन् । तीर्थयात्रीको टोलीका सदस्यमध्ये बुधबारको रात बासको व्यवस्था गर्न निस्केका सात जना र चालकमात्र सकुशल छन् । १७ जना सामान्य घाइते र तीन जनाको अवस्था गम्भीर रहेको आफन्तले फोनबाट जानकारी पाएको बताएका छन् ।

समाचार

अंग्रेजी, गणित र विज्ञान पढाउन स्वयंसेवक

देशभरका ७० वटा विद्यालयमा मात्रै तीनवटै विषयका शिक्षक छन्
- सुदीप कैनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अंग्रेजी, गणित, विज्ञान र प्राविधिक धारका विषय अध्यापन गराउन स्वयंसेवक शिक्षक खटाउने भएको छ । यी विषयका शिक्षक नभएका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक खटाउन लागिएको हो ।
मन्त्रालयले गठन गरेको कार्यदलको सर्वेक्षणअनुसार मुलुकभरका तीन हजार विद्यालय छन् । यी तीनवटै विषयका शिक्षक रहेकाको संख्या भने ७० वटा मात्रै छ । सरकारले दुई वर्षभित्र प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याउने घोषणा गरे पनि प्राविधिक धारको पढाइ सञ्चालित विद्यालयमा रहेको शिक्षक अभाव टार्न मन्त्रालयले शिक्षण स्वयंसेवक परिचालन कार्यविधि–२०७६ स्वीकृत गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा स्नातक र स्नातकोत्तर गरेका विद्यार्थीलाई शिक्षण स्वयंसेवकमा खटाउने घोषणा गरिएको थियो । त्यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।
धेरै विद्यार्थी थोरै शिक्षक भएका विद्यालयमा यस्ता शिक्षक नियुक्त गरिनेछ । ‘शिक्षक विद्यार्थी अनुपात धेरै भएका र अंग्रेजी, गणित, विज्ञान शिक्षक नभएका विद्यालयमा स्वयंसेवक परिचालन गरिनेछ,’ कार्यविधिमा भनिएको छ । प्राविधिक धारका शिक्षा विस्तार भएका सामुदायिक विद्यालयमा पनि स्वयंसेवक शिक्षक खटाइने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा शिक्षण स्वयंसेवक समन्वय तथा परिचालन समिति गठन गर्ने व्यवस्था गरिएको छ । शिक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले स्थानीय तहगत रूपमा स्वयंसेवक शिक्षकको संख्या निर्धारणको काम गर्नेछ । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले शिक्षक अभाव रहेका विद्यालयको संख्या यकिन गर्ने व्यवस्था गरिएको छ । संख्या यकिन भएपछि समितिले स्वयंसेवक शिक्षकका लागि पालिकागत दरखास्त आह्वान गर्नेछ । योग्यता पूरा गरेर छनोट भएकामध्येबाट सम्बन्धित स्थानीय तहले नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ । १८ वर्ष उमेर पूरा गरी ४० वर्ष नाघेकाले स्वयंसेवक शिक्षकलाई आवेदन दिन सक्नेछन् । स्नातक र स्नातकोत्तर तहमा उच्चतम अंक ल्याउने आवेदकलाई प्राथमिकता दिएर छनोट गरिने कार्यविधिमा उल्लेख छ ।
स्वयंसेवक शिक्षकलाई साताको कम्तीमा २४ पिरियड पढाउनुपर्ने र प्रचलित मापदण्डअनुसार उक्त विषयको परीक्षाबाट विद्यार्थीको मूल्यांकन गर्नेसम्मको जिम्मेवारी दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वर्गीकरणअनुसार स्वयंसेवकहरूले निर्वाह भत्ता पाउने व्यवस्था कार्यविधिमा गरिएको छ । उनीहरूले वर्गीकरण र शैक्षिक योग्यताका आधारमा न्यूनतम २४ हजारदेखि ३२ हजारसम्म मासिक भत्ता पाउनेछन् । सम्बन्धित विद्यालयका प्रधानाध्यापक र जिल्लास्थित शिक्षा विकास समन्वय इकाईले स्वयंसेवक शिक्षकको त्रैमासिक र मासिक रूपमा अनुगमन गरेर प्रतिवेदन केन्द्रमा पठाउनुपर्नेछ । उनीहरूले मासिक भत्ता भने स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरिएको हो ।
विषयगत शिक्षकहरू अभाव आंशिक रूपमा पूर्ति गर्न स्वयंसेवक परिचालन गर्न लागिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए । ‘ठूलो संख्यामा शिक्षकको कमी छ, बजेटका कारण अहिल्यै स्वयंसेवक शिक्षकबाट अभाव टर्दैन,’ उनले भने । आगामी शैक्षिकसत्र (वैशाख) देखि विद्यालयहरूमा शिक्षक पुग्ने गरी छनोट प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

समाचार

‘कम्युनिस्ट सत्तामा पुगेपछि बिग्रने संकेत देखिन थाले’

छोटकरी
- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– नेकपा अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिमा ठूल्ठूला त्याग गरेका कम्युनिस्टहरू सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने संकेत नेपालमा पनि देखिन थालेको बताएका छन् । नेकपाबाट मन्त्री बनेका गोकुल बाँस्कोटाले ‘कमिसनमा मोलमोलाइ’ गरेका कारण राजीनामा दिएको भोलिपल्ट शुक्रबार उनले यस्तो धारणा राखेका हुन् । अध्यक्ष दाहालले सत्तामा पुगेपछि आदर्शबाट विचलित हुने संसारमा थुप्रै उदाहरण रहेको बताए । ‘आन्दोलन, क्रान्तिमा हुँदा निकै ठूलो त्याग र तपस्या गर्न, जनतासँग घुलमिल हुन सक्ने, सँगसँगै काम गरेर जनताको मन जित्न सक्ने कम्युनिस्ट पार्टीले सत्ता प्राप्त गरिसकेपछि कहीं न कहीं त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै घटना विश्व इतिहासमा पनि छन्,’ कम्युनिस्ट पार्टीका संस्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा उनले भने, ‘नेपालमा त्यसका लक्षण देखिने गरेका छन् ।’

समाचार

सात अन्तर्राष्ट्रिय उडान डाइभर्ट

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कमजोर भिजिबिलिटीका कारण शुक्रबार बिहानदेखि साँझ ६ बजेसम्म काठमाडौंबाट हुने कम्तीमा ५५ वटा आन्तरिक उडान रद्द भएका छन् भने ७ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन् । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार काठमाडौंबाट उच्च पहाडी र हिमाली भेगका लागि तय गरिएका कम्तीमा २२ वटा उडान रद्द भए । त्यस्तै हेलिकप्टरतर्फ पनि यति नै संख्यामा चार्टर उडान रद्द भएका छन् । अवतरणका लागि भिजिबिलिटी नपुगेपछि कम्तीमा ७ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट भए । विमानस्थलस्थित उडान सञ्चालन विभागका अनुसार मस्कटबाट आएको ओमन एयरको जहाज भारतको लखनउ, मलेसियाबाट आएको मालिन्दो एयरको जहाज बंगलादेशको ढाका, दिल्लीबाट आएको भिस्तारा एयरको जहाज लखनउ, बंगलादेशबाट आएको जहाज ढाका र मस्कटबाट आएको सलाम एयरको जहाज भारतको पटना डाइभर्ट भएका थिए । बैंककबाट आएको थाइल्यान्डको जहाज पनि ढाका फर्किएको थियो । त्यस्तै बैंककबाट आएको थाई एयरको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि बैंकक नै फर्किएको थियो । शुक्रबार काठमाडौं विमानस्थलको भिजिबिलिटी १५ सय मिटरसम्म झरेको थियो । हेरेर उडान गर्ने प्रणाली अपनाउने जहाजलाई अवतरणका लागि ५ हजार मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

समाचार

बंगलादेशका विद्यार्थीद्वारा परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली विद्यार्थीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आफूहरूको भिसा थप प्रक्रियामा रहेको झन्झट र बंगलादेशी सरकारद्वारा दिइने छात्रवृत्तिको अपारदर्शितालगायतका समस्या समाधान गरिदिन ध्यानाकर्षण गराएका छन् । नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनले बंगलादेश भ्रमणमा रहेका ज्ञवालीलाई बुधबार ध्यानाकर्षणपत्र दिई सरकारका तर्फबाट समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो । बंगलादेशमा एमबीबीएस अध्ययन अवधि ६ वर्ष भए पनि नेपालीले प्रत्येक वर्ष शुल्क तिरेर भिसा एक्स्टेन्सन गर्नुपरेको गुनासो गरेका छन् । छात्रवृत्ति प्रक्रियाको पारदर्शी मापदण्ड अभावमा केही कन्सल्टेन्सी र बिचौलियाबाट नेपाली विद्यार्थी ठगिने गरेकोएसोसिएसनका अध्यक्ष नवीन यादवले बताए ।

Page 3
समाचार

जापानले लगेन कामदार

मागपत्र बनाउने र कसले छनोट गर्ने भन्ने विषय नै अलमलमा
- होम कार्की

श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालसँग समझदारी गरेको एक वर्ष पुग्न लाग्दा जापानले एक जना नेपालीलाई पनि रोजगारी दिएको छैन । जापानले सरकारी संयन्त्रबाट कामदार लैजान रुचि नै नदेखाएको नेपाल सरकारको बुझाइ छ ।
नेपाल र जापानबीच २०१९ मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजाने भन्दै ‘सहकार्य गर्ने समझदारी’ (एमओसी) मा हस्ताक्षर भएको थियो । जापानले गत अप्रिल १ बाट नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेपछि एमओसीमा हस्ताक्षर भएको हो । ‘हामीले जापानसँग जी–टू–जी (सरकार–सरकारबीच) कामदार पठाउने गरी समझदारी गरेका हौं । जी–टू–जीमा जापानको रुचि देखिएन,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायले कान्तिपुरसँग भने ।
जापानले अन्य देशसँग निजी क्षेत्रको संलग्नतामा कामदार भर्ना प्रक्रिया अगाडि बढाएको हुन सक्ने मन्त्री रायले बताए । नेपालसँग गरिएको समझदारीमा भने तेस्रो पक्षको संलग्नतालाई स्वीकार गरिएको छैन । तेस्रो पक्ष (म्यानपावर) को संलग्नता हुँदा ठगीको सम्भावना रहेको मन्त्रालको बुझाइ छ । यसअघि दक्षिण कोरिया र इजरायलमा सरकारी तबरबाटै कामदार पठाउने गरेको छ । दक्षिण कोरिया सफल मोडल हो भने इजरायल असफल जस्तै छ ।
मन्त्री रायले समझदारी कार्यान्वयनका लागि वार्ता गर्न जापान जान लागेको जानकारी दिए । ‘अब एमओसीलाई परिवर्तन गर्ने कि अन्य विकल्प छनोट गर्ने भन्नेमाथि छलफल हुनेछ,’ उनले भने । उनले अन्य विकल्पबारे भने स्पष्ट खुलाउन चाहेनन् ।
एमओसी भएपछि नेपाल र जापानी अधिकारीहरूबीच दुई पटक भिडियो संवाद भएको थियो । पहिलो पटक मार्चमा दुई देशका अधिकारीबीच संयुक्त प्राविधिक समितिको बैठक हुने भएको छ । बैठकको नेतृत्व नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले गर्नेछन् । ‘कामदारको मागपत्र कसको नाममा बनाउने र कसले कामदार छनोट गर्ने भन्ने विषय नै अलमलमा पर्‍यो,’ श्रम मन्त्रालयका एक अधिकारीले भने, ‘कामदार छनोट गर्न जापानी रोजगारदाता आफैं नेपाल आउने पक्षमा देखिएनन् ।’

कामविहीन जापान इकाई
सरकारी संयन्त्रमार्फत शून्य लागतमा कामदार भर्ना प्रक्रिया अगाडि बढाउन वैदेशिक रोजगार विभागमा जापान इकाई गठन गरिएको छ । इकाई अहिले कामविहीनझैं छ । ‘भाषा र सीप परीक्षणबाट पास भएकाहरूको सूची आइसकेपछि यसले काम गर्ने हो,’ जापान इकाईका प्रमुखसमेत रहेका वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागार्इंले भने, ‘अहिले जापानबाट केही कुरा आयो भने मन्त्रालयसँग समन्वय गर्छौं ।’
उनले जापान सरकारले नै कम्पनीलाई कामदार ल्याउने संख्या (कोटा) दिइनसकेको बताए । ‘जापान सरकारले कम्पनीले विदेशी कामदार ल्याउने कोटा उपलब्ध गराउँछ । त्यसलाई नेपाली दूतावासले प्रमाणीकरण गरेपछि हामीलाई कति कामदार कुन कम्पनीले लैजाँदै छ भन्ने यकिन सूचना आउँछ,’ उनले भने, ‘अहिले जापानले नै कोटा दिएको देखिँदैन ।’ उनका अनुसार कामदार पठाउने कार्यविधि पनि तयार भइसकेको छैन । नेपालका तर्फबाट भने विभागले कार्यविधिको मस्यौदा तयार गरिरहेको छ ।

भाषा परीक्षाप्रति असन्तुष्ट
जापानी भाषा प्रवीणता परीक्षण (जेएलपीटी) को चौथो तह उत्तीर्ण गर्ने व्यक्ति योग्य हुन्छ । भाषा परीक्षा र सीप परीक्षणमा जापानबाट तोकिएको निजी क्षेत्र हावी छ । जापान फाउन्डेसनले भाषा परीक्षण गर्न प्रो म्याट्रिक कम्पनी र सीप परीक्षण गर्न अर्को अन्तर्राष्ट्रिय संस्थालाई तोकेको छ ।
भाषा परीक्षामा सहभागी गराउने र छनोट गर्ने अधिकार निजी क्षेत्रलाई दिइएकामा नेपाल सरकार असन्तुष्ट छ । मुख्य गरी परीक्षार्थीको संख्या निजी क्षेत्रले तोक्छ र आवेदन दिइएकामध्ये पनि विद्युतीय लक्की–ड्रमा पर्नेलाई मात्रै परीक्षामा सहभागी गराइन्छ । ‘यो प्रक्रियामा सुरुदेखि नै हाम्रो सहमति छैन । हामीले आवेदन दिएका सबैलाई सहभागी गराउन दबाब दिइरहेका छौं,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पछिल्ला समय नतिजा खस्कनुको कारण पनि लक्की–ड्र नै हो ।’
अक्टोबरयता भएका परीक्षामा जम्मा
५६ जना मात्रै उत्तीर्ण भएका छन् । जापानले भने कामदार चाहेको भन्दा तीन गुणालाई परीक्षामा सहभागी गराइएको जानकारी दिँदै आएको छ ।
जापानले अहिलेसम्म ‘केयरगिभर’ मा इच्छुकको मात्रै भाषा र सीप परीक्षा लिँदै आएको छ । प्रशिक्षार्थीले एकैदिन ६० मिनेटको सामान्य भाषा र ३० मिनेटको सीपसम्बन्धी विशेष भाषाको परीक्षा दिनुपर्छ । यसका लागि जापानबाटै टोली आउँछ । एकपटक भाषामा पास भएपछि १० वर्षसम्म मान्यता हुन्छ । भाषा परीक्षाका लागि २५ सय जापानी येन, सीप परीक्षाका लागि एक हजार येन र नर्सिङ क्षेत्रका लागि एक हजार येन गरी ४५ सय जापानी येन शुल्क लाग्छ । जापान फाउन्डेसनको जापानिज भाषा केन्द्रले विशेष दक्ष कामदारलाई भाषा सिकाउन नेपाली प्रशिक्षकलाई तालिम दिएको छ ।

१४ वटै क्षेत्रमा कामदार लैजान लबिइङ
जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष–अदक्ष कामदार लैजाने समझदारी गरे पनि पहिलो वर्ष नर्सिङ कियर गिभरको क्षेत्र छनोट गर्‍यो । पाँच वर्षभित्र नर्सिङ क्षेत्रमा ६० हजार विदेशी कामदार भित्र्याउने जापानको तयारी छ । यस्तै ५ वर्षभित्र ३ लाख ४२ हजार दक्ष–अदक्ष विदेशी श्रमिकलाई रोजगारी दिने उसको नीति छ । नेपालबाट मात्रै लैजाने संख्या भने सार्वजनिक गरिएको छैन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्सिङसहित १४ वटा क्षेत्रमै कामदार लैजान पहल थालेको मन्त्री रायले बताए । ‘सबै क्षेत्रमा काम गर्न सक्ने कामदार नेपालमा छन् । केयरगिभर र कृषिसहितका क्षेत्रमा कामदार भर्ना गर्न पहल गरिरहेको छु,’ उनले भने ।
समझदारीमा कृषि, नर्सिङ, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, भवन सरसफाइ तथा व्यवस्थापन, जहाज र जहाजका पार्टपुर्जा उद्योग एवं हवाई उद्योग गरी १४ क्षेत्रमा विदेशी श्रमिक लिने भनिएको छ ।

जिट्को पनि असफल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) सँग सम्झौता गरी औद्योगिक प्रशिक्षार्थी कामदार पठाइरहेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार प्रशिक्षार्थी कामदार पठाउन नेपालका २ सय ५३ म्यानपावर कम्पनी सूचीकृत छन् । ती सबै म्यानपावरले प्रशिक्षार्थी कामदार पठाउन सकेनन् । जापानी रोजगारदाताले १० प्रतिशत प्रशिक्षार्थी कामदार राख्न पाउँछन् । सबैभन्दा बढी भियतनामले एक लाख ४ हजार, चीनले ८० हजार, फिलिपिन्स, इन्डोनेसिया र थाइल्यान्डबाट २० हजार प्रशिक्षार्थी कामदार जापान पठाएका छन् । नेपालबाट भने २ सय कामदार मात्रै जापान गएका छन् ।
वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार बजार प्रवर्द्धन गर्ने खर्च निकै महँगो परेकाले नेपालबाट कामदार पठाउन नसकिएको हो । ‘रोजगारदाताले एकैपटक धेरै कामदार लिएर जाने गरेका छैनन् । १० देखि ५० जनालाई रोजगार दिनेले वर्षमा ३ जना मात्रै कामदार लान्छ,’ जापानमा प्रशिक्षार्थी कामदार पठाउँदै आएको हिमालयन जब एक्सप्लोरका प्रबन्धक निर्देशक मदन महतले भने, ‘सेवा शुल्क ५० हजार रुपैयाँ तोकिएको छ । दूतावासमा कागज प्रमाणीकरण गर्न मात्रै ३७ हजार रुपैयाँसम्म खर्च हुन्छ । त्यसले बजार खोज्न नै नपुग्ने स्थिति भयो ।’

जापानमा ८५ हजार नेपाली
झन्डै ३० वर्षको अवधिमा जापानमा नेपालीको संख्या ८५ हजार ३ सय २१ पुगेको छ । सन् १९९० देखि नेपाली जापान गएका हुन् । त्यस वर्ष चार सय ४७ जना नेपाली गएका थिए । नेपाली भिजिट भिसामा जान्थे । त्यतिखेर साना वर्कसपमा नेपालीले काम पाउँथे । नेपाली सन् २००० देखि विद्यार्थी भिसा, दक्ष कामदार र पारिवारिक भिसा लिएर जापान जाने गरेका छन् । जापानको अध्यागमनका अनुसार १२ हजार ७ सय ६ जना नेपाली त्यहाँ कुकको काम गर्छन् । २१ हजार ८ सय ७३ जना परिवार छन् । २७ हजार विद्यार्थी छन् । जापान जाने विद्यार्थीले वैध रूपमा दैनिक ४ घण्टा काम गर्न पाउँछन् । सुरक्षित ठाउँ र आकर्षक आम्दानी भन्दै जापान जाने विद्यार्थीले १५ हजार डलर र कुकमा जानेले २० हजार डलरसम्म लगानी गर्ने गरेका छन् ।

समाचार

बाल मन्दिरले खोसेको शिशु फिर्ता

- जनकराज सापकोटा

बाल मन्दिरले आफ्ना निर्देशक पक्राउ परेपछि जबर्जस्ती फिर्ता गरेको शिशु काठमाडौं जिल्ला अदालतको आदेशपछि निःसन्तान दम्पतीकै जिम्मा लगाएको छ । बेलायती महिला डोना स्मिथलाई अवैध रूपमा धर्मसन्तान बेच्न लागेको आरोपमा गत साउन ३२ मा बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल पक्राउ परेलगत्तै कर्मचारीले उक्त शिशु खोसेका थिए । डंगोलकै सक्रियतामा निःसन्तान दम्पतीलाई शिशु दिइएको थियो ।
शिशु खोसिएपछि दम्पतीले शिशु दिने प्रक्रियामा डंगोलले अवैध रूपमा साढे पाँच लाख रुपैयाँ लिएको भन्दै जाहेरी दरखास्त दिएका थिए । डंगोल अहिले पुर्पक्षका लागि थुनामा छन् ।
शिशु खोसिएपछि विक्षिप्त बनेका दम्पतीबारे गत भदौ ११ मा कान्तिपुरले ‘मातृत्वसँग खेलबाड’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि सामाजिक
आलोचना खेपेको बाल मन्दिर शिशु फर्काउन तयार भएको थियो ।
विवाह भएको १५ वर्षसम्म सन्तान नभएपछि अनेकतिर भौंतारिएका यी दम्पतीले बाल मन्दिरबाट शिशु पाउन महिनौं दौडधुप गरेका थिए । सन्तानको रहरमा रहेका दम्पतीको परिबन्ध बुझेका निर्देशक डंगोलले उनीहरूबाट पटक–पटक गरी साढे पाँच लाखभन्दा धेरै रकम असुलेका थिए । शिशु घर भित्र्याएलगत्तै श्रीमान् वैदेशिक रोजगारीका निम्ति साउदी अरब उडेका थिए । श्रीमान् उडेको केही दिनमै डंगोल पक्राउ परे र महिलाबाट बाल मन्दिरले शिशु खोस्यो ।
महिना दिन अस्पतालमा र एक साता घरमा आफ्नै सन्तानजसरी स्याहारेको शिशु खोसिएपछि ती महिला मानसिक रूपमा विक्षिप्त बनेकी थिइन् । उनी कानुनी रूपमा शिशु लिनका निम्ति जिल्ला अदालत काठमाडौं पुगेकी थिइन् । गत पुस २४ मा काठमाडौं जिल्ला अदालतले धर्मपुत्रका रूपमा उक्त शिशु निःसन्तान दम्पतीलाई दिन सकिने ठहर गरेपछि उनीहरूले फिर्ता पाएका हुन् ।
शिशु फिर्ता पाएपछि कान्तिपुरसँगको कुराकानीमा ती महिलाले बाल मन्दिरले शिशु दिने र खोस्ने गर्दै भावनासँग खेलबाड गरेको बताइन् । महिनौं लामो उल्झन र मानसिक तनावपछि उनले फिर्ता लिएको शिशुको नाम अविरल राखेकी छन् । ‘पहिला जति खुसी थिएँ, त्यति खुसी अहिले छैन, फेरि केही अड्को थाप्छन् कि भनेर डर लाग्छ,’ उनले भनिन् ।

घटना यस्तो थियो
गत असार २५ को कुरा हो । ललितपुरको बुङमतीस्थित विनायक कोलनीछेउमा सालनालसहितको शिशु भेटिएको खबर पाएपछि प्रहरी परिसर ललितपुरको टोलीले उद्धार गरी स्वास्थ्य जाँचका निम्ति पाटन अस्पताल पुर्‍यायो । शिशुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार जारी राखियो भने प्रहरीले बाल मन्दिरलाई शिशुको बाँकी जिम्मेवारी सुम्पियो ।
शिशुको खोजीमा २०७५ माघमै बाल मन्दिरको सम्पर्कमा रहेका दम्पतीलाई निर्देशक डंगोलले यही शिशु जिम्मा लगाउने प्रक्रिया अगाडि बढाए । शिशु पाइने आसमा डंगोललाई यी दम्पतीले २०७५ माघ २९ मै डेढ लाख बुझाइसकेका थिए । धर्मसन्तान स्विकार्दा हुने सामाजिक प्रश्नलाई छल्न उनीहरू आफैं सन्तान जन्माएर ल्याउने भन्दै करिब नौ महिना काठमाडौंमा डेरा गरेर बसेका थिए ।
यसरी सन्तानको खोजीमा बसेको दम्पती डंगोलले भनेअनुसार शिशु पाइने आसमा उपचार प्रक्रियामा सामेल भए । ३० दिन बिरामी शिशु स्याहारेर अस्पताल बसे । उपचार खर्च बेहोरे र साउन २३ मा शिशु लिएर घर गए ।

Page 4
वाग्मती प्रदेश

गन्तव्य जोड्दै भरतपुर

देवघाट, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधाम, लुम्बिनी हुँदै बनारससम्मको सञ्जाल बनाइने
- रमेशकुमार पौडेल

भरतपुर महानगरपालिका–२२ पटिहानीस्थित राप्ती नदी किनारमा सूर्यास्त हुँदै गर्दा गन्तव्यतर्फ लागेका पर्यटक । संघीय सरकारले तय गरेको उत्कृष्ट सय गन्तव्यमा पटिहानी परेको छ ।तस्बिर : रमेशकुमार/कान्तिपुर 

पर्यटन विस्तारका लागि भरतपुर महानगरपालिकाले देश–विदेशका अन्य पर्यटकीय क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्ने योजना बनाएको छ । मेयर रेनु दाहालका अनुसार धार्मिक, पर्यापर्यटन र खेल पर्यटनलाई महानगरले अगाडि बढाउने लक्ष्य लिएको हो । महानगरमा यस्ता पर्यटकीय स्थल प्रशस्तै छन् । ती क्षेत्रलाई देश र देशबाहिरका अन्य यस्तै क्षेत्रसँग जोड्ने योजना रहेको उनले बताइन् ।
देवघाटधाम यहाँको मुख्य धार्मिक पर्यटकीय स्थल हो । ‘देवघाटधामलाई मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र लुम्बिनीसँग जोड्न सकिन्छ,’ मेयर दाहालले भनिन् । देवघाट आउने धार्मिक पर्यटकलाई अन्य तीर्थस्थलमा पनि पुर्‍याउन सकिने उनको भनाइ छ । यसका लागि आपसी सम्बन्ध बढाउँदै सहयोग आदानप्रदान गर्ने परिपाटीको विकास गर्न लागिएको उनले बताइन् ।
‘धार्मिक पर्यटनलाई देशभित्र मात्रै नभएर भारतसम्म पुर्‍याउन सकिन्छ । देवघाटलाई भारतको बनारससँग जोड्न मिल्ने आधार छन् । यसका लागि देवघाट, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधाम, लुम्बिनी हुँदै बनारससम्मको सञ्जाल बनाउने हाम्रो प्रयास छ,’ मेयर दाहालले भनिन् । लुम्बिनी सांस्कृतिक नगरपालिकासँग भरतपुरको सांस्कृतिक सम्बन्ध गाँसिएको र सहयोग समन्वय बढ्न थालेको उनले बताइन् ।
भरतपुर महानगरले पर्यटन प्रवर्द्धनका लागि भरतपुर–लुम्बिनी कार र्‍यालीसमेत आयोजना गर्दै छ । पर्यापर्यटनका लागि चितवन निकुञ्जसँगै बर्दिया राष्ट्रिय निकुञ्ज र कोशी टप्पुसँग सम्बन्ध बढाएर सञ्जाल बनाउन सकिने उनको भनाइ छ । मध्य भागको चितवन निकुञ्ज पूर्वको कोसी टप्पु र पश्चिमको बर्दिया निकुञ्जले आफ्नै विशेषता बोकेका छन् । खेल पर्यटनका लागि भरतपुरमै अन्तर्राष्ट्रिय स्तरको बहुद्देश्यीय क्रिकेट रंगशाला बन्दै छ । पर्यटन वर्षको अवसर पारेर भरतपुरले नगरभित्र पर्यटनका प्रमुख सात केन्द्र तय गरेको छ ।
जसमा मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाट, ज्ञानेश्वर सामुदायिक वन ब्लक, नारायणी नदी किनार र चौकी डाँडा छन् । ‘यी सात क्षेत्रभित्र २९ वटा पर्यटकीय गन्तव्य छन्,’ महानगरका पर्यटनविज्ञ विश्व सुवेदीले भने । विश्वसम्पदामा सूचीकृति चितवन निकुञ्ज, विश्व रामसार सूचीमा रहेको बीसहजारी ताल, नारायणीजस्तो देशकै ठूलो नदी भएको भरतपुरमा पर्यटकले मन पराउने अनेक आकर्षण छन् । संघीय सरकारको उत्कृष्ट सय गन्तव्यभित्र परेका बीसहजारी र पहिटानी तथा प्रदेश सरकारको १० गन्तव्यभित्र परेको मेघौली महानगरमै छ ।
भरतपुरमा चौकी डाँडाजस्तो चिसो मौसम हुने ठाउँ पनि छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा पर्ने चौकीडाँडा पर्यटनको विकास भइनसकेको तर प्रचुर सम्भावना बोकेको ठाउँ हो । चौकी डाँडालाई हिलस्टेसनका रूपमा विकास गर्न महानगर लागेको मेयर दाहालले बताइन् । चेपाङ, थारू, दराई, बोटे, कुमालजस्ता आदिवासीको बसोबास क्षेत्र भएका कारण सामाजिक जनजीवनले पनि पर्यटकलाई लोभ्याउने पर्यटनविज्ञ सुवेदीको भनाइ छ ।

वाग्मती प्रदेश

थपिएन छानबिन समितिको म्याद

- नगेन्द्र अधिकारी

नमोबुद्ध नगरपालिकामा भएको राजस्व अनियमितता छानबिन गर्न गठित समितिको म्याद थप्न कार्यपालिकाले अनिच्छा प्रकट गरेको छ । अनियमिततामा जनप्रतिनिधि र नगरकै कर्मचारीको संलग्नता खुल्दै गएपछि आफैले गठन गरेको समितिको म्याद थप गर्न कार्यपालिकाले आनाकानी गरेको हो । अनियमितता सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो राख्दै कागजपत्र नियन्त्रणमा लिइसकेको छ ।
कान्तिपुरलगायतका सञ्चारमाध्यममा राजस्व छली र अनियमिततामा जनप्रतिनिधि र कर्मचारीको संलग्नता सार्वजनिक भएपछि माघ १५ गते छानबिन समिति गठन भएको थियो । २१ गते वडा नं ६ का अध्यक्ष कुलप्रसाद न्यौपाने थप गरेर समितिले पूर्णता पाए पनि आफ्नो पनि नाम जोडिएर समाचार प्रकाशित भएको भन्दै माघ २४ गते समितिका सदस्य वडा नं २ का अध्यक्ष सञ्जीव ढकाल, वडा नं ७ का अध्यक्ष धर्मसिं लामा, सदस्य सचिव रहेका लेखा शाखाका कम्प्युटर अपरेटर राजीव श्रेष्ठले राजीनामा दिएका थिए । २६ गते वडा नं ३ का अध्यक्ष रामशरण हुमागाई, ९ नं वडाका अध्यक्ष मेलबहादुर तामाङ र प्रशासकीय अधिकृत विनोद रसाइलीलाई सदस्य सचिव तोकेर समितिले पूर्णता पाएको थियो ।
‘प्रारम्भिक प्रतिवेदन बुझाएका छौं, छानबिन अझै पूर्ण भएको छैन तर म्याद थप्ने/नथप्नेबारे कार्यपालिकाले निर्णय गरिदिएन, आजसम्म गरेको कामका लागि नगरप्रमुखले धन्यवाद छ भन्नुभयो,’ छानबिन समितिका संयोजक वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्याय अधिकारीले भने, ‘म्याद थप्नुपर्छ भनेर प्रारम्भिक प्रतिवेदनमा नै लेखेका छौं ।’ समितिका सदस्य रहेका वडा नं ६ का अध्यक्ष कुलप्रसाद न्यौपानेका अनुुसार, समितिका सबै सदस्यले म्याद थप्न अनुरोध गरे पनि अख्तियारले समेत छानबिन थालिसकेको भन्दै म्याद थप्नेबारे कार्यपालिका मौन बसेको हो । ‘छानबिन गर्दै थियौं, गहिराइमा पुग्न सकिएकै थिएन, प्रारम्भिक प्रतिवेदन बुझाएपछि म्याद थप्ने कुरा भएन,’ न्यौपानेले भने ।
समितिले अनियमिततामा संलग्नसँग लिखित र मौखिक अडियो बयान लिएका छन् । प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले अख्तियारले छानबिनको प्रगति मागेकाले कार्यपालिका बैठकमा पेस भएको प्रतिवेदन बुझाइदिएको बताए । नगरप्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले प्रारम्भिक प्रतिवेदन मात्रै बुझाएकाले ‘आवश्यक भए’ फेरि छानबिन हुन सक्ने तर्क गरे । ‘प्रारम्भिक प्रतिवेदन बुझाउनुभएको छ, अख्तियारले पनि छानबिन थालेको छ,’ शर्माले भने, ‘म्याद सकियो भनेको छैन, थप्ने हो भने कार्यपालिकाले गर्ला, आवश्यक भए फेरि पनि छानबिन हुन्छ ।’ नगरपालिकाका कर्मचारीले करदातालाई ३ हजारको रसिद दिएर नगरपालिकामा रहने नक्कल मा १ हजार मात्रै लेखेर राजस्व हिनामिना गर्ने गरेको पाइएको थियो । शक्तिको आडमा जनप्रतिनिधि, कर्मचारी, दलका नेता तथा व्यवसायीले पनि राजस्व नतिरेको खुलेको थियो ।

वाग्मती प्रदेश

बाटो छेक्दा बालकको ज्यान गयो

- कान्तिपुर संवाददाता

काठमाडौंको बाफलमा बाटो छेकेर पैसा उठाउँदै बालबालिका ।तस्बिर : सुजन डंगोल/कान्तिपुर 

शिवरात्रिमा शिवधुनी जगाउन भन्दै बाटो छेकेर रकम उठाउने क्रममा बसको ठक्करबाट शुक्रबार एक बालकको ज्यान गएको छ । दोलखा सिंगटी सडकको सुन्द्रवती खण्डमा १० वर्षीय पुजन थामीलाई सिंगटीबाट काठमाडौं हिँडेको बा ४ ख ५८०९ नम्बरको अरनिको यातायात कम्पनीको बसले ठक्कर दिएको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रेशम बोहराले बताए । एकातिर बालकको ढाडमा र अर्कोतिर रुखमा डोरी बाँधिएकाले ठक्करपछि बालकलाई बसले घिसारेर लगेको प्रहरीको प्रारम्भिक अनुमान छ । शिवरात्रिका दिन डोरी टाँगेर बाटो छेक्दै पैसा संकलन गर्ने बढ्दो प्रवृत्तिले यस्ता दुर्घटना निम्त्याइरहेका छन् । शिवरात्रिको दिन बाटो छेकेर यात्रुलाई सास्ती नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुर चितवनले सूचना नै जारी गरेको थियो । व्यस्त सडकमा बाटो छेकेर यातायात अवरुद्ध पार्दा दुर्घटना हुन सक्ने भन्दै भन्दै प्रहरीले सचेत गराएको हो । नारायणगढ भरतपुरका मुख्य राजमार्गमा बाटो छेक्ने नदेखिएपनि भित्री सडकमा बालबालिकाले पैसा उठाइरहेका थिए ।
भरतपुर १०, १ र २ आसपासबाट मात्रै १५ वटा डोरी नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका डीएसपी विश्व नेपालले बताए । अधिकांश बालबालिका संलग्न भएकाले डोरी नियन्त्रणमा लिई अभिभावक राखेर सम्झाइएको उनले बताए ।
भरतपुर महानगरपालिका–१५ की पवित्रा सिलवालले पनि सास्ती बेहोर्नुपर्‍यो । बिहान ८ः३० बजे कार्यालय पुग्नुपर्ने उनी अघिपछिभन्दा १५ मिनेटअघि नै घरबाट निस्किइन् । शिवरात्रिमा बाटो छेक्नेहरूले गर्दा ढिला होला भनेर छिट्टै निस्केकी उनलाई २० मिनेटको बाटोमा १५ ठाउँमा स्कुटर रोक्नुपर्‍यो ।
शिवरात्रिका लागि भनेर अघिल्लो दिन नै उनले १०० रुपैयाँको खुद्रा जोहो गरेकी थिइन् । ‘एक/दुई रुपैयाँका सिक्का र पाँच/१० का नोट साटेकी थिएँ,’ उनले हाँस्दै भनिन्, ‘समूहमा कति र कत्रा उमेरका छन्, त्यहीअनुसार पैसा दिइयो दौडियो ।’ भरतपुर–२२ का गौरव कँडेललाई पनि यस्तै समस्या पर्‍यो । काम सञ्चालन भएका ठाउँको अनुगमनका लागि उनलाई बिहानै साइटमा पुग्नु थियो । पवित्राले जसरी उनले बाटो छेक्नेहरूका लागि भनेर पैसा छुट्याएका रहेनछन् । १० ठाउँमा बाटो छेकेर बसेका बच्चाहरूलाई पैसा दिँदा उनको तीन सय सकियो ।
महाशिवरात्रिका दिन विशेषगरी बालबालिकाहरू डोरीले बाटो छेकेर ‘शिवधुनीका लागि सहयोग’ भन्दै यात्रुसँग पैसा लिने गर्छन् । तर, बाटो छेक्नैपर्छ भनेर शास्त्रमा उल्लेख नगरिएको पण्डित आचार्य नवराज सुवेदीले बताए ।
‘ठ्याक्यै यही कारण भन्ने मैले पढेको छैन, महाशिवरात्रिको साँझमा धुनी जगाउने, प्रसाद बनाएर सबैलाई वितरण गर्ने गरिन्छ,’ उनले भने, ‘त्यसकै लागि पैसा जम्मा गर्न बाटो छेक्न सुरु गरिएको हुन सक्छ ।’

वाग्मती प्रदेश

बेसहारा दम्पतीलाई सहयोग

छोटकरी
- कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक (कास)– चौतारा साँगाचोकगढी नगरपालिका–५, डाँडापारिका बेसहारा वृद्ध दम्पतीलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले खाद्य सामग्रीसहित नगद सहयोग गरेको छ । कान्तिपुर दैनिकमा ‘बेसहारा दम्पतीको दुःख’ शीर्षकमा समाचार प्रकाशित भएलगत्तै संघले आवश्यक नुन, तेल, चामल, साबुन, कपडा र नगद २५ हजार सहयोग गरेको हो । कदमबासका बुद्धिबहादुर र सेतीमाया विश्वकर्माको टहरामै पुगेर अध्यक्ष बेदबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष होमनारायण बस्नेत (राजकुमार), सदस्य सूर्य कार्की, मोहनविक्रम कार्की, भूपेन्द्र भण्डारीले सहयोग प्रदान गरे ।

वाग्मती प्रदेश

शिर निहुर्‍याउने काम गरेका छैनौं : मुख्यमन्त्री

छोटकरी
- कान्तिपुर संवाददाता

नुवाकोट (कास)– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको शिर निहुर्‍याउने काम नगरेको दाबी गरेका छन् । बिहीबार शिवपुरी गाउँपालिका–६ स्थित गुर्जेभन्ज्याङ–शिवपुरी हुँदै मानेभन्ज्याङ–दुप्चेश्वर सडकको शिलान्यास गर्दै उनले आफ्नो बचाउ गरे । ‘काम गर्न नीति, नियम र कानुनले दिएन । त्यही कारण हामी अगाडि बढ्न सकेनौं,’ उनले थपे, ‘एउटा ठूलो ठेक्का लगाउन ९ महिनासम्म लाग्छ । सार्वजनिक खरिद ऐन आठौंपटक संशोधन हुँदा पनि काम गर्ने वातावरण अझै बनेन ।’ सरकार गठन हुँदा गुन्द्रीसमेत नभएको अवस्थामा सबै व्यवस्था मिलाइएको उनको भनाइ थियो ।

वाग्मती प्रदेश

काभ्रे साक्षर जिल्ला घोषित

छोटकरी
- कान्तिपुर संवाददाता

काभ्रे (कास)– काभ्रेलाई ५२औं साक्षर जिल्ला घोषणा गरिएको छ । २०६८ सालको जनगणनाअनुसार १५ देखि ६० वर्ष उमेर समूहका ३ लाख ७३ हजार ७२७ मध्ये ३ लाख ६० हजार ५६० जना साक्षर भएको आधारमा घोषणा गरिएको हो । उक्त उमेर समूहको साक्षरता प्रतिशत ९६.४८ प्रतिशत छ । यसअघि काभ्रेका १३ वटै स्थानीय तह साक्षर घोषणा भइसकेका छन् । ९५ प्रतिशत साक्षर भएपछि घोषणा गर्न सकिने मापदण्ड भएपछि बाँकीलाई साक्षर बनाउने प्रतिबद्धता जनाएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताए । साक्षर जिल्ला घोषणा गर्दै शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र मुलुकलाई नै साक्षर घोषणा गर्ने जानकारी दिए ।

वाग्मती प्रदेश

युद्ध संग्रहालय बन्दै

छोटकरी
- कान्तिपुर संवाददाता

सिन्धुली (कास)– नेपाली सेनाले कमलामाई नगरपालिका–३ सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण सुरु गरेको छ । संग्रहालय निर्माणको जिम्मा सिन्धुलीमाडीस्थित नेपाली सेनाको बर्द्धबहादुर गणले पाएको छ । सेनाको पूर्व–पश्चिम एकीकरण पदमार्ग विकास गर्ने र उक्त पदमार्गमा परेका गढी तथा किल्लाको संरक्षण गर्ने अभियानअन्तर्गत संग्रहालय निर्माण थालिएको हो । चार करोड १७ लाख रुपैयाँको लागतमा २०७७ असार मसान्तभित्र सक्ने योजना छ । रक्षा मन्त्रालयबाट स्वीकृत लिएर संग्रहालय निर्माण सुरु गरिएको गणले जनाएको छ । संग्रहालयभित्र वृत्तचित्रमार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रदर्शन गर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हतियार, तोप, गोला, दस्तावेज, तत्कालीन युद्धकालीन समयमा घरेलु सेना र विपक्षी सेनाको पोसाक प्रदर्शन लगायतलाई संगृहीत गर्ने योजना छ । नेपाल एकीकरणका बेला १८२४ सालमा काठमाडौं कब्जा गर्न आएको अंग्रेज सेनालाई युद्धमा हराएर गोर्खाली सेनाले विरासत कमाएको ठाउँ सिन्धुलीगढी हो ।

वाग्मती प्रदेश

सिद्धबाबामा भक्तजनको भीड

छोटकरी
- कान्तिपुर संवाददाता

सिन्धुली (कास)– महाशिवरात्रिका दिन कमलामाई नगरपालिका–४ को सिद्धबाबा मन्दिरमा हजारौं दर्शनार्थीले पूजा–आराधना गरेका छन् । दर्शनका लागि युवायुवतीको बढी भीड लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीलिप थापामगरले बताए । कमलामाई–३ को सिन्धुलीगढी परिसरमा रहेको सिद्धथान मन्दिरमा पनि दर्शनार्थीको चाप थियो । सदरमुकामका शिव मन्दिर, शिवालय थान, लगायतमा पनि दर्शनार्थीको घुँइचो थियो । सुनकोसी गाउँपालिकाको कुशेश्वर दुम्जामा रहेको कुशेश्वर महादेव, दुधौली नगरपालिका–२ को हत्पतेमा रहेको मधुगंगा महादेव मन्दिरमा पनि भगवान् शिवको पूजा गरियो ।

Page 6
विविधा

समाजवादलाई लागेको घाउ

- रमेश केसी

हिजो सत्य लागेका कुरा आज कम सत्य र असत्य लाग्न थालेको छ । बिसौं शताब्दीमा आधा विश्व प्रभाव पारेको समाजवादी चिन्तन आज प्रश्नको घेरामा छ । एक्काइसौं शताब्दीमा समाजवाद के हो ? यसले मानव समस्या समाधान गर्न सक्छ ? जस्ता प्रश्नहरू आज उठ्न थालेका छन् । विश्वमै प्रभावशाली विचारको आज विस्तारै रङ्ग खुइलिँदै गएको छ ।
विशेष गरेर ल्याटिन अमेरिका जहाँ समाजवादीहरूको गहिरो पकड थियो, त्यो विलिन हुँदै गइरहेको छ । यसै सन्दर्भको अलजजिरामा प्रसारित ‘ल्याटिन अमेरिका : आ–जायन्ट इन टर्मोइल’ वृत्तचित्रले उठाएका प्रश्नहरू नेपाली समाजमा पनि सान्दर्भिक छन् ।
समाजवाद उन्मुख संविधान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टीको निर्वाचित दुई तिहाइको सरकार छ । सन् १९५९ मा सम्पन्न क्युबाली क्रान्ति फिडेल क्याष्ट्रोको नेतृत्वमा सम्पन्न भएको थियो । यसै क्रान्तिले सम्पूर्ण भूभागलाई समाजवादतर्फ आकर्षित गरेको थियो, जसलाई वामपन्थी ‘आइकन’ चेग्वे भाराले साथ दिएका थिए । क्याष्ट्रो मूलतः अमेरिकी साम्राज्यवाद विरोधी राष्ट्रवादी थिए । पछि मार्क्सवादी–लेनिनवादी कम्युनिष्ट भए ।
अमेरिकी समर्थित वाटिष्टाको सरकारलाई सत्ताच्युत गरी गुरिल्ला युद्धमार्फत सत्तासीन चे जीवनकालभरि क्युबाका नेता भए । ल्याटिन अमेरिकामा अमेरिकी साम्राज्यवाद विरोधी लहरको क्रममा भनेजुएला, बोलिभिया, पाराग्वे र चिली लगायत राष्ट्रहरू कुनै न कुनै कालखण्डमा समाजवादी शासन प्रणालीबाट गुज्रिसकेका छन् । तर आज पुँजीवादको विरुद्ध ल्याटिन अमेरिकामा कुनै दह्रो आवाज छैन । जताततै दक्षिणपन्थी लोकप्रियतावादी शासकहरू छन् ।
भेनेजुएलामा संकट छ । निकोलस मडुरो विरुद्ध अमेरिका समर्थित अर्को सरकार प्रमुख छन् । बोलिभियामा इभो मोरालेसको समाजवादी शासन समाप्त भयो । अन्ततोगत्वा उनी अर्जेन्टिनामा शरण लिन पुगे । ब्राजिलमा बोल्सेनोराको दक्षिणपन्थी शासन छ । कुनै समय लुला डि सिल्भाको लोकप्रिय वामपन्थी सरकार भएको ब्राजिल अहिले संसारकै प्रमुख लोकप्रियतावादी राष्ट्रमा पर्छ ।
समाजवादको विघटन बिसौं शताब्दीको प्रमुख घटना हो । साम्यवादमा सबै अन्तरविरोधहरूको हल हुन्छ भन्ने यो दर्शन पराजित हुनुमा यो गैरप्रजातान्त्रिक हुनु नै हो । हुन त सन् १९४० मा भियनाका दार्शनिक कार्ल पोपरले ‘खुला समाज र यसका शत्रुहरू’ पुस्तकमा साम्यवादी चिन्तन जगैदेखि अधिनायकवादी भएको आरोप लगाएका थिए ।
सन् १९९० मा युरोपेली समाजवादको अन्त्य भए पनि ल्याटिन अमेरिकामा उनीहरू निर्वाचनमार्फत सत्तामा टिकिनै रहेका थिए । एक्काइसौं शताब्दीको दोस्रो दशकमा आइपुग्दा उनीहरू कमजोर बने ।
समाजवादी चिन्तनको स्रोत खोज्दै जाँदा १६ औं शताब्दीका दार्शनिक थोमस मुरको ‘युटोपिया’सम्म पुग्नुपर्ने हुन्छ । यो भूस्वर्ग इसाई धार्मिक चिन्तनसँग पनि जोडिएको छ । तर त्यस्तो ‘युटोपिया’ हासिल गर्न कुनै पनि राष्ट्र सफल भएन । ७० वर्षको राजनीतिक प्रयोगपछि सोभियत जनता सन् १९९० मा रोटीका लागि लाइनमा बस्नुपर्‍यो ।
त्यसपछिको पुँजीवादी प्र्रजातन्त्र र खुल्ला बजारको विस्तारले मानव समस्या समाधान गर्न सकेन । अहिले चुनावमार्फत निर्वाचित तर गैरप्रजातान्त्रिक लोकप्रियतावादीहरू हावी छन् । अमेरिकाका डोनाल्ड ट्रम्प, रूसका भ्लादिमिर पुटिन, ब्राजिलका बोल्सेनारो र भारतका नरेन्द्र मोदी यस्ता उदाहरण हुन् जसले नवउदारवादको असफलतालाई देखाउँछ ।
संसारका अधिकांश जनता राजनीतिक चिन्तनको स्वप्न लोकभन्दा दैनिक समस्या समाधान गर्न चाहन्छन् । ल्याटिन अमेरिकी समाजवादको असफलताबाट वर्तमान नेपाली राजनीतिले पनि सिक्नुपर्छ । संविधानमा समाजवाद उन्मुख भनिए पनि कस्तो समाजवाद र कसरी प्राप्त गर्ने भन्ने स्पष्ट छैन । संविधान निर्माण गर्दा वामपन्थीहरूको पहुँच बढेकोले यो उल्लेख गरिएको हो ।
अलजजिराको वृत्तचित्रमा बोलिभियाका तत्कालीन राष्ट्रपति मोरालेसले समाजवादको सफलताका लागि आफ्नो मुलुकबाट अमेरिकी राजदूतलाई निष्काशन गर्नुपर्छ भनेका छन् । तर त्यो सम्भव छ ? वर्तमान विश्वको जिउँदोजाग्दो यथार्थ भनेको पुँजीवाद नै हो । कस्तो पुँजीवाद भन्ने विषयमा विवाद हुनसक्छ ।
सोभियत पतनपछिको पछिल्लो समय अपवाद बाहेक कम्युनिस्टले चुनाव जितेनन् । यसरी पराजित हुँदै गएको समाजवादी चिन्तनको पुनर्परिभाषा गर्नुपर्छ । नत्र आजको जटिल ‘टेक्नो–कल्चर’ले गाँजेको विश्वमा समाजवाद सम्भव छैन ।
नेपालमा साम्यवादीहरूको सरकार भए पनि यो मूलतः लोकप्रियतावादी दक्षिणपन्थी चरित्रको सरकार हो । समाजवाद यसको देखाउने दाँत हो । चीनलाई रूपान्तर गर्ने देङ सियाओ पिङले भनेका थिए कि बिरालो कालो होस् वा सेतो मुख्य कुरा मुसा समात्नु हो ।
वर्तमान नेकपाको ओली सरकारका सञ्चालकहरूले बुहदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादमा विवाद गर्ने गरेको पाइन्छ । जुन जनवाद भने पनि त्यो बिरालोले मुसा समात्नुपर्‍यो । तर सरकार पुँजीवादको घेरामा छ । जनताका सामान्य समस्या हल गर्न असफल छ ।
साम्यवादीहरूले निर्वाचनमार्फत पाएको यस्तो अवसर गुम्ने सम्भावना छ । नेकपाका नेताहरूले ल्याटिन अमेरिका हेरे पुग्छ । बाटो लोकप्रियतावादी हुँदै गैरप्रजातान्त्रिक हुनेतर्फ नै तेर्सिन्छ ।
आजको विश्वमा समाजवादको कुरा गर्नु गरिबका लागि आकर्षणको विषय हुनसक्ला । तर यसले सही परिणाम ल्याउन सक्दैन । जनताका आधारभूत आवश्यकता पूरा गर्ने विचार हो । जुन जहाँबाट, जुन प्रयोगबाट सम्भव हुन्छ, त्यहींबाट लिनुपर्छ । समाजवादको साँघुरो घेराबाट सम्भव छ्रैन । हामी चीन, सिङ्गापुर, रुवान्डा, जापान र भूटानबाट पनि सिक्न सक्छौं । वादको आग्रह राखेर आज कुनै पनि शासन सञ्चालन नै हुन सक्दैन । आज विश्व उत्तरविचारधाराको युगबाट गुज्रिरहेको छ । व्यवहारवाद जस्तो कि चीनले गरेर देखायो, त्यस्तै नेपाली मौलिक परिवेश र भूगोलमा गर्न सक्छौं । नेकपाले आफ्नो राजनीतिक प्रतिवेदनमा सुदूर लक्ष्यको रूपमा साम्यवादलाई राखेको छ । जुन असम्भव हो । जनताको दैनिक जीवनमा आउने समस्या समाधान गर्न नसक्ने गरिब राष्ट्रको सरकारले कसरी साम्यवाद ल्याउँछ ?

विविधा

इतिहास कति सपना हो ?

- अभि सुवेदी

फागुन महिनाको पहिलो हप्ता नेपालमा दुईपटक इतिहासका सम्झना भए । माओवादीले २०५२ देखि २०६२ सम्म चलाएको युद्धलाई १ गते सम्झना गरियो भने नेपाल राणा शासनबाट २००७ सालमा मुक्त भएको दिनलाई ७ गते सम्झना गरियो ।
पहिलो ‘जनयुद्ध’ सुरु गरेको दिनको सम्झना थियो भने ‘प्रजातन्त्र दिवस’ राणा शासनबाट मुक्त भएको अथवा समापन गरेको दिनको सम्झना थियो । अर्को अर्थमा जहानियाँ राणा शासनको अन्त्य गरेर नेपालको ढोका विश्वसामु खोलिदिएको दिन हो, फागुन ७ गते ।
हामी अँध्यारो मध्ययुगीन अवस्थाबाट पहिलोपटक बाहिर निस्केको दिन हो त्यो । कवि लक्ष्मीप्रसाद देवकोटाले अब हामी ‘विश्व गोल सदनका अंशियार हौं’ भनेर उद्घोष गरे । कवि सिद्धिचरण श्रेष्ठले ‘गिरी गह्वरले भिन्न भै अब मनुज बस्न कै छैन सम्भव’ भनेर लेखे । जनयुद्धको सम्झना यो आरम्भ भएको मितिले गन्दा संघर्षका १० वर्षको कालखण्डको सम्झना हो । २००७ सालको आन्दोलन आरम्भ गरेको दिनको सम्झना हुँदैन । यो क्रान्ति सम्पन्न भएको दिनसम्म आइपुग्न नेपालमा धेरै साना–ठूला आन्दोलन भए, जसका अनेकौं तिथिहरू छन् । त्यसैले यो आन्दोलन नेपालको आधुनिकतातिरको आन्दोलन थियो, जसका निम्ति नेपालीका धेरै वर्ष बिते । सफलता र असफलता भन्ने कुरा परिभाषाका विषय भए । कुनै आन्दोलन अमूक तिथि र घटनाबाट आरम्भ हुन्छन् । कुनै मितिमा कुनै सम्झौता वा जित–हारबाट तिनको अन्त्य पनि हुन्छ । यसरी कालखण्ड मिलेका आन्दोलन र क्रान्तिहरूलाई सहज अवतरण भएका घटना मान्नुपर्छ, इतिहासमा । नेपाली जनयुद्ध त्यस्तै तार्किक, राजनीतिक र सम्झौताबाट अवतरण भएको आन्दोलन थियो, जसले अनेकन कुँडाकर्कट छाड्यो, जुन मिलाउन अहिलेसम्म राजनीतिज्ञ, सरकार र अरुहरू लागिपरेकै छन् । सत्यनिरुपण र मेलमिलाप आयोग त्यही मिलाउने खण्डको महारूप हो, जसको उचित व्यवस्था गरिएको छैन, जसको निम्ति उजुरीहरू धेरै छन्, तर निराकण गर्नका निम्ति कानुन बनेकै छैनन् ।
माथि भनेका यी दुईथरी आन्दोलनहरू नेपाली इतिहासमा नित्य अलग–अलग हिँड्ने इतिहासका खण्ड होइनन् । देखिएको छ, इतिहास त्यस्तो हुँदैन । इतिहासका प्रत्येक घटना जोडिएका हुन्छन् । त्यसैले अमूक आफूलाई मनपर्ने घटनालाई मात्र उजागर गर्ने अरु घटनालाई गौण वा नगन्य मान्ने व्याख्याले काम नगरेका उदाहरण हामीले इतिहासमा भेटेकै छौं । उदाहरणको निम्ति २००७ को क्रान्तिको पछिल्लो रूप २०४७ साल हो, किनभने संसदीय व्यवस्था, बहुदल, गणेशमान सिंह, किसुनजी, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला आदि राजनीतिक पात्रहरू जोडिएको क्रान्ति खण्ड थियो, त्यो । किसुनजीले त संविधान बनाउने र प्रयोगमा ल्याउने जस्ता महत्त्वपूर्ण कर्मसमेत सम्पन्न गरेको अवस्था थियो । तर अर्को पुस्ताका नेता मदन भण्डारी र मित्रहरूको प्रवेश पनि भैसकेको हुनाले इतिहास पछिल्लो पुस्तासँग जोडिएको देखिने आधार देखियो । १० वर्षको माओवादी युद्धले अघिल्लो इतिहासका पात्र, आइडियोलोजी र काम गर्ने पद्धतिसँग इतिहासका कालखण्डको सम्बन्ध हुन्छ भन्ने कुरा प्रमाणित गर्‍यो । केही ऐतिहासिक घटना भए । मंसिर ७ गते ०६२ को १२ बुँदे समझदारी, त्यही ०६२–६३ सालमा भएको संयुक्त जनआन्दोलन र मंसिर ५ गते ०६३ मा भएको विस्तृत् शान्ति सम्झौताले माथि भनिएका इतिहासका दुईवटा धारलाई सँगै ल्याएर काम गर्ने आधारहरू आफैं सिर्जना गरिदिए ।
आन्दोलनहरूले नेता वा नायक जन्माउने अनि तिनको विषयमा ग्रन्थ र आलेखहरू प्रकाशित गर्ने एउटा स्वाभाविक चलन हो । २००७ सालको क्रान्तिका नायकहरूमाथि खासै कसैले किताब लेखेनन् । बालचन्द्र शर्माको ‘नेपालको ऐतिहासिक रूपरेखा’मा बीपी कोइराला र अरु नायकहरूमाथि विस्तृत रूपमा लेखियो । बीपी कोइराला आफैं लेखक भएका हुनाले उनले आत्मसंस्मरण लेखे, जुन अलिक पछि प्रकाशित भयो । तर ०४६ सालको परिवर्तनपछि नायकहरूमाथि फिल्म बनाउने, किताबमा संस्मरण लेख्ने काम भए । त्यसमा प्रमुख रूपमा गणेशमान सिंहमाथि लेखिएका ग्रन्थहरू थिए । कवि केदारमान व्यथितले नेपाली लेखकहरूको जमघटमा घरमा रात्रिभोजनमा गणेशमान सिंहलाई पनि बोलाएका थिए, जहाँ उनी साथीहरूले छिट्टै राजालाई लगेर प्रजातन्त्र दिन्छन् भनेर खुलेर रोएका थिए । पछि नभन्दै राजा ज्ञानेन्द्रले शक्ति हातमा लिएका थिए । केही खासै विधि नपुगेका फिल्म अनि केही अतिशयोक्ति गरेर लेखिएका नेताका जीवनीहरू प्रकाशित भए । यसरी संस्मरण र जीवनी लेख्ने विधा राजनीतिक रूपमा पनि प्रयोग गर्न सकिने रहेछ भन्ने सोच आयो । पहिलेका निरंकुश पञ्च अनि अवकाशप्राप्त सैनिक अधिकारीहरूका संस्मरण निस्किनु र तिनको राजनीतिक प्रभाव सिर्जना गर्न प्रयोग गर्नु त्यही नयाँ लहरको प्रभाव हो । पञ्चहरू र पहिलेको पञ्चायतकालका खम्बाहरूले मोटामोटा किताब निकालेको शृङ्खलामा प्रधानमन्त्री र पहिलो राजनीतिक धारका अग्रणी गिरिजाप्रसाद कोइरालाको मसिनो ‘माई सिम्पल कन्भिक्सन’ (२०६३) मण्डला बुकबाट प्रकाशित भयो । यसको विमोचनको वक्ताको रूपमा मैले महत्त्वपूर्ण श्रोताहरूमाझ यस्ता मोटा किताब र गिरिजाबाबुको यो सानो तर तेजिलो संस्मरणको तुलना गर्दै प्रजातन्त्रवादीका संस्मरण र प्रकाशनका आयामहरू सैद्धान्तिकीकरण गर्ने प्रयास गरेको थिएँ ।
माथि भनेका दुई धारहरूको संस्मरण गर्ने यो हप्तामा माओवादी जनयुद्ध भन्ने कि नभन्ने विषयको पूर्वएमाले र माओवादी बीचको जेठ ३ गते ०७५ को एकता सन्धिपछि कुरा हराए पनि यही फागुन २ को स्मृति दिवसमा एमालेका वरिष्ठ नेताहरू उपस्थित नभएको कारणले निकै चर्चा पायो । तर मेरो चाख अलिक साहित्यजनिन बढी हुने भएकोले पूर्वमाओवादीको आन्दोलनका स्मृतिका धारहरूबाट आएका कुरा अत्यन्त ध्यान दिनलायक थिए । ती थोरै थिए तर सपना र आत्मालोचनाले रञ्जित थिए । जनयुद्ध कालको सबैभन्दा धेरै माया गरेर लेखिएको लेख रातो घरमा बस्नु खतरनाक हुनेरहेछ भनेर प्रकारान्तरले माओवादी होइन, कम्युनिष्ट धार नै छोडेका बाबुराम भट्टराईको थियो । यो लेख नयाँ पत्रिका फागुन १ गते निस्किएको हो । यो लेखमा डा. भट्टराईले अरु कुनै माओवादीले भन्दा तीव्र, भावात्मक रूपमा त्यो जनयुद्ध कालको संस्मरण गरेको पढ्दा केही चाख, केही उत्सुकता र केही कौतुहल उब्जिन्छन् । मलाई त यसमा रहेको साहित्यिक गुणको संस्मरण मनपरेको हो । यो लेख र अरु नेताका लेख र मिडियामा निस्केका भाषिका पढ्दा भने लाग्छ, बाबुराम चाहिँं माओवादी नेता हुन् र अरु अलग धार समातेर निस्केका मानिसहरू हुन् । त्यो जनयुद्धकाल उनको सपनामा आउँछ । उनी निद्राबाट ब्युँझिएर उठ्छन् । ‘यो बुढेसकालमा पनि यो दिमाग किन यसरी क्रान्तिकारी वेगमा कुदिरहेको हो ?’ भन्ने प्रश्नको उत्तर हिसिलाले पनि दिन नसकेको तर हार्वर्ड विश्वविद्यालयका मनोविज्ञानशास्त्री स्टिफन पिंकरले यो क्रियाशीलता लाभदायक हुन्छ भनेपछि ढुक्क भएको अवस्था भएका बाबुरामले लेखको पछिल्लो खण्डमा आफ्ना देश निर्माण गर्ने सोचहरू त्यही आन्दोलनले जन्माएका दर्शन र धारणाहरूको वरिपरि राखेका छन् । त्यस संस्मरणमा प्रचण्डको स्तालिन शैलीको चरित्र उद्भव हुनलागेको कुरा उनले लेखेका छन् ।
तर नेपाली माओवादी जनयुद्ध माओले नेतृत्व गरेका एक लाख कार्यकर्ता ६ हजार माइलको यात्रा गर्ने क्रममा मारिएर बीस हजारमात्र बाँचेर फर्केको लङमार्चको कथा होइन । त्यो जनयुद्ध मूलतः एउटा राजनीतिक आन्दोलन थियो । त्यसका पछिल्ला गतिविधि, इतिहासभित्र गरिएका र गर्नुपर्ने सम्झौताहरू हेर्दा जसरी भए पनि, जस्तो रूपमा भए पनि अगाडि गइरहेको अवस्था नै त्यस जनयुद्धको पनि इतिहास हो । त्यो बेलाका सपना मिले कि मिलेनन् अथवा त्यसमा को कसरी टिके भन्ने इतिहासकै छलफल हो । क्रान्तिको इतिहास मज्जाले सपना रञ्जित हुन्छ । क्रान्तिकारीहरू असफल हुन्छन् । सफलता पनि सापेक्ष कुरा रहेछ, इतिहासमा । मार्क्सले ‘द क्लास स्ट्रगल इन फ्रान्स’मा भनेका छन्, क्रान्तिकर्मीहरू हार्छन्, तर क्रान्ति भने अगाडि गइबस्छ ।’ अग्रगामी क्रान्तिका चरित्र अनेकौं हुन्छन् । नेपालको अगाडि गइबस्ने क्रान्ति भनेको अहिलेको लोकतान्त्रिक व्यवस्था नै हो ।
बाबुराम भट्टराईका भावरञ्जित संस्मरण, मोहन वैद्यको एउटा क्रान्तिको अवसान भएको उक्ति र अरु अनेकौं लेख र समाचार अत्यन्त शिक्षाप्रद छन् । तर ‘विद्रोह गरिरहेको भए गोन्जालोको जस्तो हालत हुन्थ्यो’ (कान्तिपुर २ फागुन, पृष्ठ १३) भन्ने प्रचण्डको आत्मस्वीकृतिमूलक भनाइबाट बुझिने प्रस्ट कुरा यस्तो छ– प्रचण्डले लगेको दिशामा जुन राजनीतिक धार गएको छ, जनयुद्धको नेपालको इतिहासभित्र पसेको धार त्यही हो । प्रचण्डले मोजेजले यहुदीलाई इजिप्टबाट बाहिर निकालेर लगेजस्तै माओवादी धार लिएर आए । पुल भत्कियो, अब फर्किने ठाउँ छैन भने । कुनै आन्दोलनको परिणतिलाई लिएर जानेका भाष्य र कर्म त्यस्तै हुन्छन्, माओवादी जनयुद्धको त्यो ‘लिगेसी’ लिएर हिँडेका व्यक्ति प्रचण्ड नै देखिए । अर्को अर्थमा यो आन्दोलन कता गयो, सही भयो कि भएन भन्ने कुरा इतिहासले भन्छ । त्यसैले यो हप्ता खासै उत्साहविना मनाइएका फागुन ७ र फागुन २ गतेका धारहरूको संगम उचित अभ्यासमा समस्या देखिए पनि असोज ३ गते २०७२ मा जारी संविधान र लोकतान्त्रिक व्यवस्था नै हो ।

विविधा

सामाजिक सञ्जाल र शङ्का

- डा. कृष्णबाबु श्रेष्ठ

सभ्यताको विकासक्रमसँगै मानव समाजले आफ्ना पुराना र गलत मान्यतालाई भत्काउँदै नयाँ मान्यता स्थापित गर्दै अघि बढ्न सिकेको छ । समाज अहिले जहाँ, जसरी, जुन अवस्थामा छ, सभ्यताको उच्चतम उपलब्धिका साथ छ । वास्तवमा मानिसलाई प्राप्त यस्ता उपलब्धिहरूका मुख्य आधार उनीहरूको शंका र आलोचना गर्ने द्वन्द्वात्मक गुण हुन् । समाज विकासको लागि आलोचनात्मक दृष्टिकोण आवश्यक र अपरिहार्य हुन्छ । मानिसको सामाजिकता (भेला हुने, गफ गर्ने, कुरा काट्ने संस्कृति) यस्ता दृष्टिकोण अभिव्यक्त हुने मुख्य अवसर हो । गफिनु, कुरा काट्नुलाई अंग्रेजीमा ‘गस्सिपिङ’ भनिन्छ र सामाजिकतासँग अलग गरेर हेर्न नमिल्ने कुरा काट्ने प्रवृत्तिलाई समाजले नकारात्मक रूपमा बुझ्दै र स्वीकार्दै आएको छ । तर धेरै अनुसन्धानपश्चात वैज्ञानिकहरूले तथ्य र कारणसहित मान्छेको यस्तो चरित्रलाई सकारात्मक रूपमा अङ्गीकार गर्नुपर्ने सुझाएका छन् ।
रबिन दन्बार अक्सफोर्ड विश्वविद्यालयका मानवशास्त्रका प्राध्यापक हुन् । सन् २००४ मा ‘रिभ्यु अफ जनरल साइकोलोजी’ जर्नलमा प्रकाशित उनको अनुसन्धानले भन्छ— ‘कुरा काट्ने प्रवृत्ति (गस्सिपिङ) ले मान्छेलाई ठूलो दायरामा सूचना फैलाउन सहयोग गर्छ ।’ साउथ फ्लोरिडा विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक जेनिफर बोस्सोनको सन् २००६ मा प्रकाशित अर्को अध्ययनमा ‘अर्काको नकारात्मक बानी र कामको टिप्पणीले सकारात्मक काम गर्नुपर्ने सन्देश फैलाइरहेको हुन्छ’ भन्ने जिकिर गरिएको छ । फुर्सदको समयको ठूलो हिस्सा मान्छेले समाजमा अरुसँग बिताउँछ । जब अरुसँग समय बिताउनुछ, उसलाई अन्तरक्रिया गर्नैपर्छ । यस्तो अन्तरक्रियाका लागि मान्छेले अनेकौं मञ्चहरूको उपयोग गर्दै आएको छ । गाउँका चियापसल लोग्नेमान्छेका अखडाको रूपमा परिचित छ । सहरीकरण बढेसँगै प्रचलित गफ गर्ने थलोको रूपमा परिचित पँधेराहरू हराउँदै गए । महिलाहरू पँधेरामा भेला भई मनमौजी गफ गर्ने पुरानो चलन हो ।
कफी घरहरूले युरोपमा विद्रोहका केन्द्रका रूपमा काम गरेका थिए । सेरा जिलानीद्वारा ‘द इकोनोमिस्ट’मा प्रस्तुत लेखलाई आधार मान्दा ग्रिस (१८२१), सर्बिया (१८३५) र बुल्गेरिया (१८७८) को अट्टोमन साम्राज्य विरुद्धको स्वतन्त्रता आन्दोलनमा कफी घरहरूको ठूलो भूमिका थियो । कफी घर नै यस्ता अखडा थिए, जहाँ पढेलेखेका, जान्ने–सुन्नेहरू भेला हुन्थे, अखबार पढ्थे, चर्चा–परिचर्चा गर्थे भने अन्य सर्वसाधारण तिनका कुरा सुन्न त्यहाँ जान्थे । कफी घरहरूमार्फत विद्रोहका स्वरहरू फैलन थालेपछि सम्राटहरूले त्यहाँ जासुस पठाउने र बन्द गराउनेसम्मको प्रयास गरे ।
यस्ता चिया र कफी गफहरूमा देश र समाजभित्रका अनेकन ताता विषयबारे छलफल हुन्छन् । र तिनले समयक्रममा विचारको स्रोत, विद्रोहको मुस्लो वा आन्दोलनको मूलधार बन्ने ल्याकत राख्छन् । मान्छेका यस्ता भेलामा कतिपय नकारात्मक कुरा हुनु अस्वाभाविक होइन । त्यसैको आधारमा यस्तो भेला र गफको अवसरलाई हाम्रो समाजले नकारात्मक विम्बको रूपमा मात्रै प्रयोग गर्दै आए र त्यो मानसिकता अद्यापि निमिट्यान्न भएको छैन ।
हिजोका चौतारी, पँधेरा, चिया वा कफी घरहरूको जमघटले अहिलेको युगमा डिजिटल ‘सामाजिक सञ्जाल’को रूप ग्रहण गरेको छ । त्यसैले आजको सामाजिक सञ्जाल मान्छेले युगौँदेखि अभ्यास गर्दै आएको विविध मञ्चको फरक रूपमात्र हो । यहाँ टिकाटिप्पणी र नकारात्मक कुरा हुनु अन्यथा होइन । मान्छेमा निहित चरित्र भएका कारण यस्तो कार्यलाई हाउगुजीको रूपमा लिन उपयुक्त हुँदैन । यद्यपि सामाजिक सञ्जालको दायरा हिजोको तुलनामा कैयौं गुणा फराकिलो छ । सञ्जालका थुप्रै आयाम छन्, त्यसमध्ये यसले प्रदान गरेको अभिव्यक्तिको अवसरचाहिँं सबैभन्दा महत्त्वपूर्ण हो । यो लेख सामाजिक सञ्जालको वैचारिक योगदानको पक्षलाई खोतल्ने झिनो प्रयासमात्र हो ।
अभिव्यक्ति विचारको निकास हुने माध्यम हो, जुन मानिसका लागि अपरिहार्य छ । सञ्जालमार्फत मानिसका लागि खुल्ला अभिव्यक्तिको अवसर प्राप्त भइरहेको छ, जुन सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो । आज विश्वका करोडौं मानिसले एकसाथ
आफ्नो अभिव्यक्ति, मनमा लागेका कुरा बिना अंकुश र बिना सङ्कोच राखिरहेका छन् । जस्तो— कुनै समय, कुनै तप्काबाट कुनै विषयको उठान हुन्छ, त्यसको प्रतिक्रियास्वरुप हरेक सचेत नागरिकको मस्तिष्कमा त्यसबारे सोच, धारणा वा प्रतिक्रिया उत्पन्न हुन्छन् र ती प्रतिक्रिया यहाँ अभिव्यक्त हुन्छन् । ती प्रतिक्रियाले थप प्रतिक्रियाको पनि माग गर्छन् । यस प्रकार सञ्जालमार्फत नै विचारको वा अवधारणाको एउटा प्रस्ट र आवश्यक धार निर्माण हुने अवसर प्राप्त भइरहेको छ । आज विश्वका धुरन्धर बौद्धिकहरूको ताजा अभिव्यक्ति क्षणभरमा आफ्नो खातामा पढ्न सकिन्छ । ताता विचार वा निर्णय र समाचारहरू निमेषमै संसारका हरेक मान्छेको खल्तीमा पुग्छन् । सञ्जालले विचारको पहुँचलाई सबै तह र तप्कामा पुर्‍याइदिएको छ । हरेक देशमा पढेलेखेको, जाने–बुझेको, चिन्तन गर्न सक्ने, हरेक विषय र घटनामाथि आलोचनात्मक दृष्टिकोण राख्न सक्ने जागरुक नागरिकको समूहले यो अवसरलाई सिर्जनात्मक उपयोग गरिरहेका छन् । समाज र राज्यका परिवर्तन र सुधारका प्रक्रियासँग सबैभन्दा बढी सरोकार राख्ने यो समूहको सिर्जनात्मक क्रियाकलाप राज्यको सम्पत्ति हो । साथै संस्थापनमा बसेकाहरूको कामका लागि ठूलो पृष्ठपोषक पनि हो । दिन–प्रतिदिन आफै परिपक्व र विस्तार हुँदै गएको यस्तो विशाल मञ्चको महत्त्वलाई बुझ्ने दृष्टिकोण अत्यन्त सकारात्मक र सिर्जनात्मक हुनैपर्छ । नेपालको हकमा त वर्तमान परिवेशमा सञ्जालको महत्त्व झन् टड्कारो महसुस हुन्छ । दलहरूमा आन्तरिक लोकतन्त्र क्षीण देखिन्छ, खास विधिले काम भइरहेको छैन, नियमित बैठक हुँदैन र गम्भीर राष्ट्रिय महत्त्वका विषयहरूमा नेताहरूबीच छलफल विरलै भएको देखिन्छ । यदाकदा भइहाले पनि निष्कर्ष निस्कने ढङ्गले छलफल हुने वातावरण छैन । संसदमा जनप्रतिनिधिहरूले समेत मातृ दलका इमानदार र ‘ह्विप’ अनुसार चल्ने रबरछाप कार्यकर्ताको भन्दा फरक छवि देखाउनसकेका छैनन् । यस्तो अवस्थामा नागरिकहरू भने सञ्जालमा महत्त्वपूर्ण विषयमा निर्भीक रूपमा प्रश्न उठाइरहेका छन् र घनिभूत छलफल गरिरहेका देखिन्छन् । यस्तो प्रतीत हुन्छ, वर्तमानमा राष्ट्रिय महत्त्वका विषयहरूमा विशेष बहस हुने थलो सामाजिक सञ्जालमात्र हो ।
आज दिन–प्रतिदिन धेरैभन्दा धेरै मान्छे सञ्जालमा आबद्ध हुँदै गैरहेका छन्, जसले पारदर्शी समाज निर्माणमा टेवा पुगेको छ । पारदर्शी समाजमा मानिसहरूको गलत काम आफै नियन्त्रित हुन्छन् । आज समाजमा हुने ससाना अनियमित क्रियाकलाप पनि लुकाउन सकिने अवस्था छैन । क्षणभरमा त्यो सतहमा छताछुल्ल हुन्छ, जसले गर्दा मानिसहरू आफै सतर्क र सजग हुँदै गइरहेका छन् । जिम्मेवारीमा बसेकालाई अहिले आफ्ना कदम र भूमिकाबारे छिनछिनमा प्रतिक्रिया प्राप्त हुने र कमजोरी महसुस भए सच्याएर अघि बढ्ने अवसर मिलेको छ । सरकारका केही एजेन्डा बाहिर आउँछन्, संगतिपूर्ण नभएको अवस्थामा त्यसको व्यापक विरोध हुन्छ । सरकार पछि हट्न बाध्य हुन्छ र समयमै कम क्षतिसहित उसलाई सच्चिने अवसर मिलेको छ । यसरी सामाजिक सञ्जालले समाज र राज्यको प्रतिरक्षा प्रणालीको रूपमा काम गरेको छ ।
सामाजिक सञ्जालमा आम नागरिकको सक्रियता बढ्नु लोकतान्त्रिक सरकारलाई फाइदाजनक कुरा हो । आलोचनात्मक चेतसहितको सक्रिय जनताको निगरानीमा आफ्नो कामलाई सतर्कतासाथ अघि बढाउन पाउनुलाई सरकारले महत्त्वपूर्ण र सकारात्मक अवसरको रूपमा बुझ्नुपर्छ । तर केही फाटफुट खराब परिणामको हवाला दिँंदै मूलतः अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको सामाजिक सञ्जाललाई कथित स्वस्थ र अनुशासित बनाउने नाममा सरकारबाट साँघुरो वा कुण्ठित बनाउने प्रयास भयो भने दुर्भाग्य ठहरिनेछ । मनोवैज्ञानिक र समाज वैज्ञानिकहरूका अनुसार मान्छेको कुरा काट्ने वा टिकाटिप्पणी गर्ने (गस्सिपिङ) बानीले अरुलाई हानि पुर्‍याउने मात्रा भनेको ३/४ प्रतिशतमात्र हो । तसर्थ ठूलो हल्लाखल्ला भइरहे पनि सामाजिक सञ्जालको नकारात्मकभन्दा सकारात्मक योगदान कैयौं गुणा बढी छ भन्न धक मान्नु पर्दैन । नियमनको नाममा अभिव्यक्ति र आलोचनाको अवसरलाई खुम्च्याउनु भनेको समाजलाई नियन्त्रित र अपारदर्शी बनाउन खोज्नु हो । यस्तो प्रयासले समाजलाई तुलनात्मक रूपमा मौनतातर्फ धकेल्न सक्छ । मौनता स्वस्थ समाजको परिचायक होइन ।

Page 7
विविधा

फेरिन खोजेको जनकपुर

नेपालको जस्तोसुकै ठाउँमा पनि रामाशिष जस्ता मानिस हुनसक्छन्, जो आफ्नो समाज र देशलाई निस्वार्थ भावले सेवा गरेर अगाडि बढाउने मनसाय राख्छन् ।
- प्रमोद मिश्र

रामायणको जनकपुरबारे सानैदेखि सुनेपढे पनि म एकपटक मात्र गएको थिएँ, छत्तिस साले विद्यार्थी नेता तथा मेरा मित्र एवं सहकर्मी कैलाश कार्कीको विवाहमा । जनकपुरबारे मैले रिचर्ड बर्गहार्डको धर्मनिरपेक्ष भएर लेखेको प्राज्ञिक लेख पढेको थिएँ । र, दुर्गानन्द झाले राजा महेन्द्रमाथि बम प्रहार गरेको बदला पञ्चायती व्यवस्थाले जनकपुरलाई पिछडा बनाएको भन्ने आशयका लेखहरू पनि नपढेको होइन ।
पछिल्लो समय मैले जनकपुरबारे सकारात्मकभन्दा नकारात्मक कुरा नै पढेको र सुनेको थिएँ । बम बिस्फोटमा मैथिली नाट्यकर्मीको मृत्यु, रेडियोमा काम गर्ने एउटी होनहार महिलाको हत्या, सञ्चार व्यवसायीको हत्या आदि । जनकपुरमा कस्ता मानिस बस्दा हुन्, जो आफ्ना मतभेद छलफलद्वारा समाधान गर्न सक्दैनन् भन्ने लागेको थियो । राजधानी बनिसकेपछि पनि मैले जनकपुरवासीबारे नकारात्मक कुरा नै सुनेको थिएँ । जनकपुर फोहोर छ, त्यहाँ सुन्न सक्ने संस्कार छैन । जनकपुरवासी नकारात्मक कुरामात्र गर्छन् । अरूको कुरा काट्न र खुटटा तान्नमात्र आफ्नो समय खर्चिन्छन् आदि–इत्यादि ।
त्यसैले जब गत दिसम्बरमा झापादेखि कैलालीको मधेस यात्राको एघारौं दिन मधेस फाउन्डेसनका तुलानारायण साह र म ठाडी झिझा अनि सहिदहरूको गाउँ यदुकहा हुँदै जनकपुरतर्फ लाग्यौँ, मेरा मनमा अनेकौं कुरा खेल्न थाले । जनकपुरको वातावरणीय र मानसिक फोहोर हेर्न किन जाऊँ भन्ने पनि लाग्यो । तर जनकपुर प्रदेश नम्बर २ को राजधानी भएकोले त्यहाँ महिला, दलित र युवा रोजगारका लागि अनेकौँ राम्रा काम गरिरहेका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई भेटने इच्छा थियो । फेरि इतिहासमा कहिल्यै आफ्नो राज्य कस्तो हुन्छ भनेर आत्मबोध नगरेको समुदायले त्यो राज्य पाइसकेपछि कसरी चलाइराखेको छ भन्ने जान्ने उत्सुकता पनि थियो ।
सहरभित्रको एउटा होटलमा चेक–इन गर्ने बेलामा ‘प्रथमे ग्रासे मक्षिका पातः’ जस्तै भयो । खुइलिँदै गरेको तालुमा कपाल कालो पार्ने रसायन चुहिनेगरी लगाएका भद्र देखिने रिसेपस्निष्टले तुलाजीसित भने, ‘कसैले रिजर्भेसन गराएको छैन, तपाईहरूका नाममा ।’ हामी छक्क पर्‍यौं । प्रदेश २ का मुख्यमन्त्रीको आतिथि बन्न हिँडेका मान्छे, यहाँ त ‘रिजर्भेसन’ सुद्ध भएको रहेनछ । अनि तुलाजीले आफ्नै नाममा रिजर्भेसन गर्नुभयो । त्यसपछि मात्र ती भलादमीले नेपालीमा भने, ‘मुख्यमन्त्रीको अफिसबाट कसैले फोन गर्‍यो भने कोठा छैन भन्ने गरेका छौँ हामीले । छ महिनाको होटल बिल अहिलेसम्म बाँकी नै छ ।’
होटलमा नुहाइवरी सफा भएर हामी राजनीतिक जमघटमा रातिको खाना खान पुग्यौँ । मुख्यमन्त्रीजीले आफ्ना सिपाहीजस्ता देखिने पहाडी जनजाति मूलका सहायक र बाहुन भान्सेलाई यो ल्याउनुस्, त्यो ल्याउनुस् भनेर हाम्रो सत्कार गरे । आफ्ना सहायकहरूसँग गरेको नेपाली भाषाको शिष्ट प्रयोगले प्रदेश २ मा राज्यमात्रै छैन, भाषाको पनि अर्कै प्रयोग भैराखेको छ भन्ने सोचेर मन प्रसन्न भयो । तर त्यहाँ जम्मा भएका एक राजनीतिज्ञसँगको मेरो कुराकानी त्यति सन्तोषजनक रहेन । मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, तुलाजी र म भएको ठाउँमा मेरो र ती नेताबीचमै धेरै संवाद भयो ।
राज्य सञ्चालनबारे मेरो मतभिन्नता रह्यो । म आदर्शवादी, ती उनीहरू व्यावहारिक । नेपालमा भ्रष्टाचार व्यापक छ र खर्चिलो चुनाव यसको मुख्य कारण हो भन्नेमा हामी सहमत थियौँ । तर चुनावमा लाग्ने पैसा कसरी आउन सक्छ भन्नेमा मेरो मतभिन्नता थियो । पैसा उठाउने मामिलामा सबै पार्टी भ्रष्ट छन् भन्ने उनको भनाइ । कांग्रेस र नेकपा त शिरदेखि पैतालासम्म चुनावी रकमका मामिलामा भ्रष्ट छन् भन्ने उनी । मेरो भनाइ नयाँ जन्मेका पार्टीहरू कांग्रेस र नेकपाजस्ता हुनुभएन भन्ने थियो । तर ती राजनीतिज्ञ यस कुरामा सहमत थिएनन् । उनी पैसा भएन भने गाउँ–गाउँमा मतदाताका ठेकेदारहरूले जोसँग पैसा बढी छ, उसैलाई भोट दिलाउँछन् भन्ने । मेरो मन खिन्न भयो, राजनीतिको यो घिनौना रूप चुनावी ढाँचाले जन्माएको देखेर । मनमा अनेक कुरा खेलिरहे । नेपाली राजनीतिमा चुनाव लड्न पैसाको जोहो कसरी हुँदोरहेछ भन्ने थाहा भयो । त्यस राति मलाई के थाहा भयो भने भ्रष्टाचार नगरी, कमिसन नखाई यी राजनीतिक पार्टीहरू चाहे जुनसुकै किन नहुन्, चुनाव लड्नै सक्दैनन् । उदेक लागेर आयो । होटलको कोठामा आएर पछारिएँ, निकै बेर निद्रा लागेन । भोलिपल्ट मुख्यमन्त्री सहितको सरकारका मन्त्री र सचिव आदिसँंग जमघटमा मधेश यात्राबारे केही बोल्नु र अन्तरक्रिया गर्नु थियो । उकुस–मुकुस भइराख्यो । मनमा लागिरह्यो, जनकपुरमा नेपालको फोहोर दलीय राजनीति सफा हुँदैन लागिरह्यो । जहाँ आदर्श छैन, सिद्धान्त छैन, नयाँ गर्ने आँट छैन, त्यहाँ नयाँपनको ढोंग किन गरिरहनु भन्ने भयो मनमा । दलहरूको आय पारदर्शी भएन र त्यसको नियमन गरिएन भने यसले नेपालमा लोकतन्त्रलाई ढिलोछिटो धरापमा पार्छ भन्ने लाग्यो र यही सोच्दै निदाएँ । बिहान उठ्दा सधैंझैं तुलाजी मर्निङ वाकमा गैसकेका थिए । म नित्यकर्म सिध्याउँदै थिएँ । तुलाजीले फोन गर्नुभयो । ‘सर, म सहर घुम्न गएको थिएँ । फर्किंदैछु र साथमा एकजना मित्रलाई भेटाउन ल्याउँदैछु ।’ तुलाजीसित आउनुभएका ती सज्जन रामाशिष यादवका कुरा सुनेपछि भने मेरो मन अलि उज्यालो भयो ।

रामाशिषको कथा
रामाशिषलाई जानकी मन्दिर र त्यस अगाडिको गंगासागर नाम गरेको विशालकाय पोखरी कुँडाकर्कटले भरिएको देख्दा जहिले पनि दिक्क लाग्थ्यो । ‘ईश्वर त हाम्रो वशमा हुन सक्दैनन् तर हाम्रो प्रयत्न त हाम्रै हातमा छ’ भन्ने लागिरह्यो उनलाई । यही सोचेर एकदिन उनले दुईजना मित्रसँंग कुरा गरे । जानकी मन्दिरको सफाइमा लागौं भने त्यहाँका महन्थले मन नपराउन सक्छन् भनेर रामाशिष तीनजना साथी लिएर एकदिन मन्दिर पछाडिको पोखरीमा पसे र हातैले फोहोर सफा गर्न थाले ।
त्यस्तो पोखरीमा पत्रकारजस्तो पढेलेखेको मान्छे पसेको देख्दा वरपरका मानिस भेला भएछन् र हाँस्न थालेछन् । फोहोर–मैला सफा गर्ने काम त ‘तल्लो जात’का मानिसको हो भन्ने लागेछ, ती दर्शकलाई । यस्ता पढालिखा सम्मानित व्यक्तिले किन यस्तो कसिङगर उठाउने काम गरिराखेको होलान् भन्ने लागेछ, उनीहरूलाई । तर रामाशिष र उनका ती साथीहरूको अठोटमा कुनै परिवर्तन आएन । तर दुई–तीन जनाले त्यत्रो विशाल पोखरी सफा गर्नु असम्भव लाग्यो, रामाशिषलाई । यस्तो सोचेर जिल्ला प्रहरीका १ हजार २ सय जवान ब्यस्त रहे पनि एसएसपी कार्यालयका गोडा २ सय जवानको त्यति काम हुँदैन भन्ने लागेर एकपल्ट एएएसपीलाई भन्न गएछन् । ती वरिष्ठ उपरिक्षक औधि खुसी भएछन् । काम नभएर तिनका जवानहरूलाई पट्टाइ लागिराखेको थियो । प्रत्येक साता ती प्रहरी जवान भिडे गंगासागर सफा गर्न । त्यसरी नै रामाशिषले सशस्त्रको एसपी र सेनाका कर्णेललाई भनेपछि ती पनि सहयोग गर्न राजी भए । विद्यालय संगठन प्याबसनलाई सम्पर्क गरेर स्कुले बालबालिकलाई साताको दुई दिन सहभागी गराए । पोखरीका विभिन्न डिलहरू विभिन्न समूहलाई जिम्मा लगाए । एउटा डिल सशस्त्रलाई, अर्को सेनालाई, अर्को प्रहरीलाई । एकदिन एउटा विद्यालय, अर्को दिन अर्को विद्यालयलाई । यसैगरी दिन र स्थान विभाजन गरे रामाशिष र तिनका साथीहरूले । फेरि पोखरी सफा गर्न चुना, कोदालो–फरुवाजस्ता सरसामान पनि चाहिन्थ्यो । त्यसका लागि तिनले आफ्ना व्यापारी र उद्योगपति मित्रहरू गुहारे । सबैले सहयोग गरे । यति भइसकेपछि सहरवासीले रामाशिषले राम्रै काम गरेका रहेछन् भन्न थाले र ती पनि सघाउन आउन थाले । तर यी सबै सफाइ अभियानका दौरान रामाशिषले एकपैसा पनि कसैसंँग लिएनन् । पैसा लिएपछि हात फोहोर हुन्छ र मानिसमा शंका–उपशंका जन्मिन थाल्छ भन्ने लाग्यो तिनलाई । त्यसैले उनी कसैले आफू आउनुको सट्टा पैसा दिन्छु भन्दा, रामाशिषले ‘या त आफै आएर श्रमदान गर्नुस् या चाहिएको सरसामान (कोदालोदेखि चुना) दिनुस्, पैसा लिंँदैनौं’ भनेर फर्काइदिन्थे । यसले गर्दा आम मानिसमा विश्वास जाग्न थाल्यो । गर्दा हुने रहेछ भन्ने लाग्न थाल्यो । र पोखरी सफा भयो ।
यसरी गंगासागरलाई सहरका सरकारी र गैरसरकारी स्रोतको परिचालन गरेर सफा त गरे, तर त्यस सफा पोखरीको जगेर्ना कसरी गर्ने ? सहरमा फोहोर व्यवस्थापनको राम्रो प्रबन्ध नहुँदा आममानिस खोलानाला, पोखरीमै फोहोर फाल्छन् । त्यसैबीच तिनका सहयोगीहरूले चन्दा उठाउनुपर्छ भने मान्छे राख्नलाई । तर रामाशिषको मनमा अर्कै विचार आइसकेको थियो । तिनले चन्दा उठाउन मानेनन् । पैसाको खेल भएपछि गडबड हुने सम्भावना र सहरवासीमा पैसा खायो भन्ने मनमा पस्न सक्छ भयो उनको मनमा ।
तर चन्दा नउठाई गंगासागरको सरसफाइ कायम कसरी गर्ने ? तिनले जनकपुर वरपरका पण्डितहरूको भेला गर्न सोचे र निम्तो पठाए । पण्डितहरू सयौंको संख्यामा आए र तिनले बनारस र हरिद्वारजस्तै गंगा आरती गराउने सल्लाह दिए । तर नित्य प्रतिदिन आरती गर्ने पैसा कहाँबाट आउँछ ? रामाशिषको
आफ्नो तलबको केही भाग र दुईजना साथीको पैसाले तीनजना पण्डित एक महिनाका लागि राख्ने विचार गरे । २०७० सालमा भएको उद्घाटनका दिन ६० हजारजति मानिस भेला भए । गंगा आरती सुरु भयो । भक्तजनले दानपेटिकामा पैसा खसाल्न थाले । रामाशिषले बैंकमा पोखरीका नाममा खाता खोले । यसरी सुरु भएको आरतीबाट हुने आम्दानीले पण्डितलाई तलब पनि दिनपुग्यो र पोखरी सरसफाइ पनि जारी रह्यो । आजपर्यन्त यो कार्यक्रम जारी छ र गंगासागर पोखरी सफा छ ।
रामाशिषजीको यो कथा सुनेपछि मलाई जनकपुर मात्रै होइन, नेपालको जस्तोसुकै ठाउँमा पनि रामाशिष जस्ता मानिस हुनसक्छन्, जो आफ्नो समाज र देशलाई निस्वार्थ भावले सेवा गरेर अगाडि बढाउने मनसाय राख्छन् भन्ने लाग्यो । र सानै प्रयास भए पनि आ–आफ्नो समाज, सहर, गाउँ राम्रो बनाउन लागेका होलान् । मानिसले अठोट गर्‍यो भने जे पनि सम्भव छ भन्ने मनमा आस पलायो ।
रामाशिष भने जनकपुरवासीको प्रबल आग्रहमा प्रादेशिक राजनीतिमा होमिएका छन् अहिले । अब आउने दिनमा तिनले राजनीतिको गंगासागरलाई कसरी सफा गर्छन्, यो हेर्न भने बाँकी छ । तर रामाशिष जस्ता मानिसले गर्दा गाउँ–सहर मात्रै नभई मुलुकको राजनीति पनि अवश्य सुध्रेला भन्ने आशा अझै छ, मरिसकको छैन ।
मिश्र अमेरिकास्थित लुइस विश्वविद्यालयमा अंग्रेजीका विभागाध्यक्ष हुन् ।

विविधा

एसिड आक्रमण रोक्ने उपाय

- शशी बस्नेत

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरूपहरूमध्ये एक हो । यस्तो अपराधमा महिला वा पुरुष जोकोही पीडित हुनसक्छ । महिला विरुद्धका अन्य हिंसाभन्दा एसिड हिंसाको प्रकृति फरक देखिन्छ । यसमा आक्रमणकारीको मुख्य उद्देश्य महिलालाई कुरूप पार्ने हो । महिलामाथि हुने एसिड आक्रमण परम्परागत पितृसत्तात्मक सोचको उपज हो । यस सोचका कारण महिलालाई व्यक्ति होइन, सामग्रीमा रूपमा लिइन्छ ।
नेपालमा भएका घटनाहरूको अध्ययन गर्दा किशोरी तथा युवतीहरूप्रति लक्षित गरी एसिड आक्रमण गर्ने गरेको पाइन्छ । यो समस्याबाट विशेषगरी विद्यालय तथा विश्वविद्यालयमा पढ्ने किशोरी बढी आतंकित छन् । भारत र बंगलादेशले विशेषतः कानुन तथा नियमहरू बनाएर यो समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ ।
नेपालको सन्दर्भमा एसिडजन्य पदार्थको बिक्री–वितरणलाई नियन्त्रण तथा नियमन गर्न राज्यले त्यति पहल गरेको छैन । यसले बालिका र महिलाहरूको मानवअधिकार उपभोगमा पनि गम्भीर क्षति पर्‍याएको छ ।
२०७२ सालअघि एसिड आक्रमणको स्पष्ट कानुनी व्यवस्था थिएन । एसिड आक्रमणलाई अपराधीकरण गर्न मुलुकी ऐन २०२० को कुटपिटको महलको दफा १४ क. थपिएको थियो । जस अनुसार तेजाब वा यस्तै प्रकारका अन्य पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराएमा वा अनुहार वा शरीरको कुनै अंग कुरूप पारेमा कसुरको प्रकृति हेरी सजाय दिइनेछ । कुरूप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ देखि ३ लाख रुपैयाँसम्म जरिवाना, त्यस्तै शरीरको अन्य अंग कुरूप पारेमा वा जीउमा पीडा गराएमा ३ देखि ८ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । र, जरिवाना बापतको सम्पूर्ण रकम पीडितलाई दिइने उल्लेख छ ।
घरेलु हिंसा ऐन, २०६६ को दफा २(ग) मा ‘शारीरिक यातना’ भन्नाले कुटपिट गर्ने, गैरकानुनी थुनामा राख्ने, शारीरिक चोट पुर्‍याउने, तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्किई वा सो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अंग कुरूप पारिदिने वा यस्तै अन्य कुनै काम गर्ने वा गराउने कार्य सम्झनुपर्छ’ भन्ने परिभाषा थपिएको छ ।
२०७५ भदौ १ देखि लागू भएको मुलुकी अपराधसंहिताको दफा १९३ अनुसार कसैले पनि तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ छर्किई अनुहार वा शरीरको कुनै अङ्ग कुरूप पार्ने काम गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख छ ।
कसैले यस्तो कसुर गरे कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा ५ देखि ८ वर्षसम्म कैद र १ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरूप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा ३ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । जरिवाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनुपर्ने व्यवस्था पनि गरेको छ ।
आजभोलि नेपालमा जोसुकैले सहजै एसिड खरिद–बिक्री, ओसारपसार गर्न सक्छन् । बिक्री–वितरणमा अनुगमन गर्ने राज्यको कुनै नीति–नियम छैन । एसिडको सहज प्राप्तिले दुरुपयोग पनि सहज बनाएको छ । यसको उत्पादन मानव सुविधा र आवश्यकता परिपूर्तिका लागि भएको हो । तर दुरुपयोग गर्दा मानव शरीरलाई हानि गरेको छ । एसिडको बिक्री–वितरणमा नियन्त्रण र अनुगमनको आवश्यकता टड्कारो छ । खासगरी हाइड्रोक्लोरिक एसिड, सल्फ्युरिक एसिड तथा नाइट्रिक एसिडको बिक्री–वितरण सरकारबाट अधिकार प्राप्त पसलबाट हुन जरुरी छ । यी एसिड बिक्री गर्दा खरिदकर्ताको परिचय, उमेर खुल्ने रेकर्ड राख्ने व्यवस्था गरिएमा पनि दुरुपयोग हुनबाट जोगिन सकिन्छ ।
कुनै पनि महिला, बालिका तथा अन्य व्यक्तिमाथि हुने हिंसालाई अन्त्य गर्नु राज्यको प्रमुख दायित्व हो । सर्वोच्च अदालतबाट २०७४ साउन २५ गते एसिडको उत्पादन, ओसारपसार, बिक्री तथा वितरण सम्बन्धमा नियमनकारी प्रबन्धन साथै एसिड आक्रमणबाट बच्ने उपाय र यसको असर, प्राथमिक चिकित्सा, औषधोपचार केन्द्र समेतका बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि राज्यले विशेष व्यवस्था गर्नु भनी परमादेश जारी भैसकेको छ । तैपनि हालसम्म सरकारले एसिड बिक्री–वितरणमा नियमन गरेको छैन । सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्दै सरकारले एसिडको बिक्री–वितरणमा अनुगमन तथा उचित नियन्त्रण गरेमा सम्भावित अपराधलाई रोक्न सक्छ । पीडकलार्ई कडा सजाय दिने आफ्नो ठाउँमा छ । सँंगसँंगै घटना हुने वातावरण सिर्जना हुन नदिनु पनि राज्यको पहिलो प्राथमिकता हुनुपर्छ ।

विविधा

संकटमा चिनियाँ नेतृत्व

- लक्ष्मी लम्साल

वर्तमान चिनियाँ संकटको घडीमा सबैभन्दा अग्रपंक्तिमा देखिएका तीन पात्र हुन्— राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ परराष्ट्र प्रवक्ता । यी तीन पात्रहरू निरन्तर बैठक गर्ने, अत्यावश्यक निर्देशन दिने र भएका सूचना विश्वमाझ फैलाउने क्रममा व्यस्त छन् । चिनियाँ राष्ट्रपति पद यहाँको राजनीतिक मियो हो र उनकै वरिपरि सारा संयन्त्र घुमिरहेको हुन्छ भने दोस्रो तहमा प्रधानमन्त्री । दुवै नेताहरू कोरोना भाइरसको विपत्तिमा हौसला थप्ने, समन्वय गर्ने, मातहतका निकायहरू चुस्त–दुरुस्त राख्ने, उपलब्धिहरू अद्यावधिक गर्ने, अभिभावकीय भरोसा दिने र परराष्ट्र मन्त्रालयका प्रवक्ताहरू विश्व समुदायमा जारी संकटबारे सूचनाहरू आदान–प्रदान गर्ने काममा लागिपरेका छन् । बाँकी निकायको आआफ्ना जिम्मेवारी त छँदैछन् ।
मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे विच्याट वा अन्य इन्टरनेट कन्फ्रेन्समार्फत विश्व समुदायलाई सूचित गर्नु चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वय ह्वा छुनयिङ र कङ श्वाङको जिम्मेवारीभित्र पर्छ । वुहानमा भेटिएको नयाँ खाले कोरोना भाइरसबारे निष्ठापूर्वक प्रतिरोधको प्रस्ताव तयार पारेको जानकारी परराष्ट्र प्रवक्ता कङ श्वाङले जनवरी २० मा दिएका थिए । प्रथम प्रहरमै विश्व स्वास्थ्य संगठनलाई नयाँ खाले कोरोना भाइरसको जीन शृंखलाबारे पनि जानकारी गराए । चीनले २१ मा विश्व स्वास्थ्य संगठनसँग र विशेषज्ञहरूसँग मिलेर नयाँ कोरोनाबारे जिम्मेवारीपूर्वक कदम चाल्ने घोषणा गर्‍यो र अन्य मुलुकलाई यस बारेमा जानकारी गरायो ।
नयाँ खाले कोरोना भाइरसबाट वुहानमा २२४ र जापान तथा कोरियामा १–१ तथा थाइल्यान्डमा २ जना प्रभावित भेटिएको समाचार सार्वजनिक भएसँगै जनवरी २० मा चिनियाँ राष्ट्रपति सीले एउटा बैठक बोलाएर यस अवस्थालाई उच्च महत्त्व दिनुपर्ने, भ्याएसम्म प्रतिरोध गर्नुपर्ने, विकसित घटनाक्रम अद्यावधिक गर्नुपर्ने र विश्व सहयोग मजबुत पार्नुपर्ने जस्ता निर्देशन दिए । जनवरी २१ मा विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस अढानोम घेब्रेयेससले जेनेभामा आपत्कालीन बैठक बोलाएर विश्व स्वास्थ्यमा ध्यानाकर्षक गर्दै समस्या देखापरेको भन्दै सचेत गराए । जनवरी २३ मा वुहानले विमानस्थल, रेलस्टेसन लगायत सबै खालका सार्वजनिक यातायात अस्थायी रूपमा बन्द गर्‍यो । सरुवा रोगको विश्लेषणपछि फैलावट रोक्न भन्दै स्थानीयलाई वुहान नछोड्न अनुरोध गरियो । चीनको मध्यभागमै अवस्थित वुहान सहर सबैभन्दा ठूलो यातायात सञ्जाल हो, जुन ठप्प पार्नु निर्मम छनोट थियो ।
जनवरी २४ चीनको परम्परागत पात्रो अनुसार नववर्षको पूर्वसन्ध्या अर्थात् १ अर्ब ४० करोड चिनियाँको पुनःमिलनको पर्व थियो । वसन्त चाडको ढुवानी अवधि जनवरी १० देखि नै सुरु भएको घोषणा गरिएको थियो । तर त्यतिन्जेलसम्म चीनका २९ प्रान्तमा फैलिएर संक्रमितको ग्राफ हजार आसपास पुग्न लागेपछि चिनियाँ सर्वसाधारणका लागि भिडियो, टेलिफोन वा इन्टरनेटका अनेक तरिकामार्फत वसन्त चाड मनाउनुको विकल्प भएन । यहाँ राज्यको अनुरोधसँगै सर्वसाधारणको एकताको भावना छचल्किएको देख्न सकिन्छ ।
कोरोना आतंक फैलिन थालेदेखि चिनियाँ राष्ट्रपतिको सक्रियता अझै तीव्र भएको छ । यसै पनि उनी परिश्रमी नेता मानिन्छन् । त्यसमाथि यस्तो संकटको घडीमा उनका अनेकन अभिभावकीय जिम्मेवारीहरू थपिए । मातहतका बैठक डाक्नु, अन्तर्राष्ट्रिय जगतमा टेलिफोन वा भेटमार्फत समन्वय गर्नु, चीनमा आएका पाहुनासँग सत्य–तथ्य केलाउनु, सकेसम्मका क्षेत्रमा स्थलगत भ्रमण गरेर संक्रमण नियन्त्रणका लागि जनतालाई जागरुक गराउनु उनको हालको महत्त्वपूर्ण जिम्मेवारी बनेको छ । जनवरी २६ मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत राजनीतिक ब्युरो, स्थायी परिषदको अध्यक्षता गरेका राष्ट्रपति सीले महामारी रोकथाम र नियन्त्रण युद्धलाई पराजित गर्नुपर्ने अठोट दिलाए । सोही दिन प्रधानमन्त्री एवं कोरोना भाइरस प्रतिरोध केन्द्रीय कार्यदलका नेता ली खछ्याङले पनि मृत्युदर घटाउने र पारदर्शिता अपनाउने कुरामा यथोचित निर्देशन दिए । लीले युरोपेली संघका अध्यक्ष उर्सुला भोनडर लेएनलाई टेलिफोन गरेर युरोपेली मुलुकबाट चिकित्सा सामग्री खरिद गर्ने बारेमा परामर्श गरे । फेब्रुअरी २ मा फेरि लीले आफू मातहत बैठक बसालेर केही प्रान्तमा महामारीको प्रतिरोध, बजार आपूर्तिको निर्देशन दिए । ४ तारिख फेरि अर्को बैठक बोलाएर लीले चिकित्सक तथा चिकित्सा सामग्री वुहान पठाउनेबारे निर्देशन दिए ।
जनवरी २८ तारिख विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस बेइजिङमा उत्रिएपछि सी र परराष्ट्रमन्त्री वाङ यीले भेटे अनि महामारी रोकथाममा चीनको दृढता प्रस्तुत गरे । फेब्रुअरी ७ मा सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग महामारीको प्रतिरोध सम्बन्धी वार्ता गरे । फेब्रुअरी ५ मा सीले पार्टी केन्द्रीय समितिको राष्ट्रिय चौतर्फी कानुनी शासन परिषदको तेस्रो बैठक बोलाएर शारीरिक स्वास्थ्यलाई केन्द्रमा राख्नुपर्ने औंल्याए । फेब्रुअरी १० मा पेइचिङस्थित तिथान अस्पतालमा पुगेर बिरामीहरूको औषधोपचार अवस्थाको अवलोकन गरेर भिडियोमार्फत वुहानका बिरामीहरूसँग साक्षात्कार गरे । अहिले पनि घरआवास क्षेत्रमा पुगेर रेखदेख गर्ने काममा सी नै खटिएको देखिन्छ ।
भाइरसको फैलावट हुन नदिन चीनका हरेक निकाय तत्काल सक्रिय भएको देख्दा जोकोहीलाई अचम्म लाग्छ । कुनै त्यस्ता निर्णय छैनन्, जुन अनुमानका भरमा एकछिन लागू गर्ने र तुरुन्तै तोड्ने गरियोस् । यसबाट नेतृत्वमा दूरदृष्टियुक्त ‘भिजन’ भएको झल्किन्छ । एक समय फेक न्युजका कारण निकै अफवाह फैलिए । सम्बन्धित निकायले तत्काल लोगो भएको वा आधिकारिक सूचना पठाउने एप वा निकाय बाहेक अन्यमा भर नपर्न सुझाए । चिनियाँ अर्थतन्त्र सम्बन्धी निकायले वर्तमान उतार–चढाव अस्थायी प्रकृतिको भएकाले दीर्घकालीन अर्थतन्त्रमा असर नपर्ने भनेर चीनका लगानीकर्ता र आफ्नो वैदेशिक लगानी तथा विश्व अर्थतन्त्रमा देखिएको आशंका निवारणको प्रयास गरे ।
चीनमा एकपछि अर्को संयन्त्रले परिपक्व ढंगले काम गरेको देखेपछि चिनियाँ नेतृत्वको क्षमतामाथि जोकोहीमा जिज्ञासा जाग्छ । ३ प्रमुख पात्रले १ अर्ब ४० करोड जनसंख्या भएको आपत्कालीन घडीलाई संयमित ढंगले काबुमा लिइरहेका छन् र आफूहरू मातहतका निकायलाई जिम्मेवारीपूर्वक खटाएका छन् । जो विपत्तिका बेलामा ब्युँझिँदैनन्, उनीहरूलाई मिनेटभरमै कारबाही गरेर तत्कालै अर्कोलाई जिम्मेवारी दिने ल्याकत राख्छन्, उनीहरू । र दुःखको घडीमा हिलो छ्याप्न खोज्ने अन्तर्राष्ट्रिय समुदायको सामना पनि एकसाथ गरिरहेका छन् । सहयोग गर्न खोज्ने विश्वसँग हातेमालो पनि गर्न भ्याएका छन्, अनि चीनमा रहेका विदेशी वा विश्वका जनताको स्वास्थ्यप्रति उत्तिकै संवेदनशीलता देखाएका छन् । यी सारा संकटको घडीमा नेतृत्वको कार्यक्षमताले चिनियाँमात्रै होइन, विश्वलाई नै यतिखेर चकित बनाएको हुनुपर्छ ।
स्मरणीय छ, नेपाली नेताहरू पनि सी विचारधारा अध्ययन गरिरहेका छन्, चिनियाँ नेताबाट प्रशिक्षण लिइरहेका छन् । छिमेकी मुलुक चीनबाट हाम्रा नेताहरूले धेरै कुरा सिकिसकेको पनि भन्छन् । संकटको बेला चिनियाँ नेतृत्व कसरी अडिग भएर निर्णय गर्छ भन्नेचाहिँ कहिले सिक्ने होलान् ?
लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, बेइजिङमा कार्यरत छन् ।

Page 8
विदेश

दक्षिण कोरियामा उच्च सतर्कता

कोरोना भाइरस संक्रमित बढ्दै
डाइगु र चेयोङडो सहर विशेष हेरचाह क्षेत्र घोषित
सहरका मल, व्यापारिक प्रतिष्ठान र सडक बन्द
- एजेन्सी

सोलको रेल–वे स्टेसनमा भाइरसप्रतिरोधी विषादी छर्कनुपूर्व एकअर्काको रक्षात्मक पोसाक सफा गर्दै कोरियाली कामदार । तस्बिर : एपी 

दक्षण कोरियामा कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि भएपछि उच्च सतर्कता अपनाइएको छ ।
भाइरस संक्रमित डाइगु र चेयोङडो सहरलाई ‘विशेष हेरचाह क्षेत्र’ घोषणा गरिएको छ । संक्रमण फैलन नदिन सडक पूर्ण रूपमा बन्द गरिएका छन् र २५ लाखभन्दा बढी मानिसलाई घरमै बस्न भनिएको छ । केन्द्र सरकारले उक्त क्षेत्रमा थप स्वास्थ्यकर्मी र आइसोलेसन सुविधा पठाउने भएको छ । मानिस भेला हुने सहरका मल, व्यापारिक प्रतिष्ठान र अन्य क्षेत्र शुक्रबार लगभग बन्द भएका छन् । तीनजना सैनिकमा पनि भाइरस संक्रमण पुष्टि भएपछि सेनालाई निश्चित घेरामा सीमित गरिएको छ ।
दक्षिण कोरियामा बिहीबार थप ५३ मा कोरोना संक्रमण पाइएसँगै संक्रमितको संख्या २०४ पुगेको छ । अधिकांश संक्रमित डाइगु सहरकै भएको सरकारी अधिकारीले बताएका छन् । संक्रमित एक महिला धार्मिक कार्यक्रममा पुगेपछि भाइरस संक्रमण फैलिएको डाइगुका मेयर क्वोन योङ–जीनले जनाएका छन् । ६१ वर्षीया ती महिलाको बुधबारै मृत्यु भएको थियो । उनको अन्तिम संस्कारमा सहभागीलाई पनि संक्रमण भएको कोरियाको संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रले उल्लेख गरेको छ । हालसम्म संक्रमितहरू धेरै चीनमा छन् भने त्यसपछि जापानको समुद्री तटमा रोकिएको डाइमन्ड प्रिन्सेस क्रु पानीजहाजमा छन् । संक्रमितको संख्या धेरै रहेकोमध्ये कोरिया तेस्रो स्थानमा छ । पानीजहाजमा ६ सय ३० जनामा संक्रमण पाइएको छ ।
यसैबीच युक्रेनमा चीनबाट उद्धार गरेर ल्याइएका मानिस सवार गाडीमा प्रदर्शनकारीले आक्रमण गरेका छन् । नोभी सान्जारी सहरमा क्वारेन्टाइनमा राख्न लाँदै गर्दा आक्रमण भएको हो । उनीहरूमा भाइरस संक्रमण छ भन्ने अफवाह फैलिएपछि प्रदर्शनमा उत्रिएकाले आक्रमण गरेका हुन् । स्वास्थ्य अधिकारीले भने उद्धार गरिएका कसैमा संक्रमण नभएको प्रस्ट्याएको छ ।

चीनमा उच्च अधिकारी बर्खास्त
कोरोना भाइरस फैलिएको चीनमा बिहीबार पुनः संक्रमितको संख्यामा वृद्धि भएको छ । बुधबार ३९४ संक्रमित पाइएकामा बिहीबार ८८९ जनामा संक्रमण पुष्टि भएको छ भने थप ११८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण चीनमा मृतकको संख्या २ हजार २ सय ३६ पुगेको छ ।
हुबेईबाहिर सान्डोङ र झेजियाङ प्रान्तस्थित दुई कारागारमा कोरोना संक्रमित पाइएपछि संक्रमण दर पुनः बढेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले उल्लेख गरेको छ । अधिकारीले शुक्रबार जनाएअनुसार कारागारमा रहेका २ सय ३४ जनामा कोरोना संक्रमण देखिएको हो । कारागारभित्र ठूलो संख्यामा संक्रमित पाइएपछि जिम्मेवारी पूरा नगरेको भन्दै चीनले उच्च अधिकारीलाई बर्खास्त गरेको छ । हुबेईका कारागारमा पनि २ सय ७१ जनामा कोरोना संक्रमण पाइएको अधिकारीले बताएका छन् ।
डिसेम्बर यता चीनमा १ हजार ७ सयभन्दा बढी स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन् । भाइरस प्रभावित क्षेत्रमै खटिदाँ हालसम्म ६ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । चीनबाहिर २६ देशमा १ हजार ७६ जनामा संक्रमण पुष्टि भएको र हालसम्म ११ जनाको मृत्यु भएको छ ।

विदेश

ट्रम्पका पूर्वसल्लाहकारलाई जेल

- कान्तिपुर संवाददाता

वासिङ्टन (एजेन्सी)– अमेरिकाको एउटा अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार रोजर स्टोनलाई ३ वर्ष ४ महिनाको जेल सजाय तोकेको छ । उनलाई २० हजार डलर जरिवाना र २५० घण्टा सामुदायिक सेवा गर्नसमेत भनिएको छ ।
सदनलाई सातपटक ढाँटेको, संसदीय कारबाहीमा व्यवधान खडा गरेको र साक्षीलाई प्रभावित तुल्याएको अभियोगमा स्टोनविरुद्ध अदालतले फैसला गरेको हो । राष्ट्रपतीय निर्वाचन अभियानमा भएको भनिएको रूसी हस्तक्षेपबारेको संसदीय अनुसन्धानमा उनले झूटो बोलेको र त्यसले अमेरिकी लोकतन्त्रलाई खतरामा पुर्‍याएको भन्दै वासिङ्टन डिस्ट्रिक अदालतकी न्यायाधीश एमी बर्मन ज्याकसनले स्टोनलाई कैद सजाय सुनाएकी हुन् । स्टोनले आफूलाई धम्क्याएको समेत न्यायाधीश ज्याकसनले बताएकी छन् । ‘कोही कसैले भनेजस्तो स्टोनलाई राष्ट्रपतिको पूर्वसल्लाहकार भएकाले मुद्दा चलाइएको हैन । उनलाई राष्ट्रपतिका गल्ती ढाकछोप गरेकाले मुद्दा चलाइएको हो,’ ज्याकसनले बताइन् । यही मुद्दामा राष्ट्रपति ट्रम्पलाई भने सफाइ दिनुपर्ने न्यायाधीश ज्याकसनले बताइन् । स्टोनमाथि विकिलिक्ससँग सम्पर्क स्थापना गर्न खोजेको प्रयासबारे तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ को गुप्तचर समितिमा झूटो बोलेको अभियोग छ । विकिलिक्सले सन् २०१६ को चुनावी अभियानमा डेमोक्र्याटिक दलबाट ट्रम्पकी प्रतिद्वन्द्वी हिलारी क्लिन्टनका व्यक्तिगत इमेल लिक गरिदिएको थियो । क्लिन्टनका ती इमेल रूसी ह्याकरले चोरी गरेको निष्कर्ष अमेरिकी गुप्तर अधिकारीले निकालेका थिए ।
अभियोजनकर्ताले ट्रम्पका पुराना मित्र एवं सल्लाहकार ६७ वर्षीय स्टोनलाई सातदेखि नौ वर्षसम्मको जेल सजाय माग गरेका थिए । स्टोनलाई जेल सजाय भएकोप्रति ट्रम्पले असन्तुष्टि व्यक्त गरेका छन् । ‘उनलाई गैरनिष्पक्ष तरिकाले हेरिएको छ,’ लस भेगासमा पुनर्स्थापित बन्दीसँगको एउटा कार्यक्रममा बोल्दै ट्रम्पले भने, ‘स्टोन धेरै राम्रा मान्छे हुन् ।’ नयाँ सुनुवाइकै माग भइरहेका बेला ट्रम्पले संविधानप्रदत्त ‘राष्ट्रपतिको शक्ति’ प्रयोग नगर्ने बताएका छन् । ‘म सबै प्रक्रिया नजिकैबाट नियाल्न गइरहेको छु,’ उनले भने । कालान्तरमा स्टोनको सजाय माफी भने हुन सक्ने ट्रम्पले जनाएका छन् ।
पूर्वसल्लाहकार स्टोनलाई माफी दिन सक्नेबारे ट्रम्पले संकेत गरेपछि डेमोक्र्याटले भने त्यसको विरोध गरेका छन् । स्टोनलाई माफी दिनु भनेको ट्रम्पका स्वार्थ पूरा गर्न अन्य व्यक्तिलाई पनि कानुन तोड्न हौसला दिनु भएको उनीहरूको भनाइ छ । ‘स्टोनका अपराध ट्रम्पलाई जोगाउन प्रतिबद्ध छ र माफी दिनु भनेको भ्रष्टाचारको चरम रूप हो,’ डेमोक्र्याटिक प्रतिनिधि एडम स्किफले ट्वीटरमा लेखेका छन् ।

विदेश

१४% अस्ट्रेलियाली गरिबीको रेखामुनि

- कान्तिपुर संवाददाता

सिड्नी (कास)– अस्ट्रेलियाका करिब १४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ । अस्ट्रेलियन काउन्सिल अफ सोसल सर्भिस र युनिभर्सिटी अफ न्यु साउथ वेल्सले संयुक्त रूपमा गरेको अध्ययनअनुसार अस्ट्रेलियाको कुल जनसंख्यामध्ये ३२ लाखभन्दा बढी जनता गरिबीमा जीवन बिताइरहेका छन् ।
प्रत्येक आठ वयस्कमा एक जना र ६ मध्ये एक बालबालिका गरिबीको रेखामुनि रहेको अध्ययनमा देखिएको छ । अध्ययनको नेतृत्वकर्ता प्राध्यापक ब्रुस ब्राडबरीले गरिबीको मापनमा न्युजिल्यान्ड, जर्मनी र आयरल्यान्डभन्दा अस्ट्रेलिया पछाडि रहेको बताए । ‘अस्ट्रेलियाले आर्थिक रूपमा प्रगति गरिरहेको भए पनि १३.६ प्रतिशत जनता गरिबीमा जीवन बिताइरहेका छन्,’ उनले भने, ‘करिब १७.७ प्रतिशत बालबालिका गरिबीको रेखामुनि छन् र यो तुलनात्मक रूपमा उच्च हो ।’
अनुसन्धान संस्थाकी प्रमुख कार्यकारी अधिकृत कासान्द्रा गोल्डीले कल्याणकारी कोषमा सरकारको कम योगदान, रोजगारीको अभाव र महँगो आवासका कारण १४ प्रतिशत अस्ट्रेलियाली गरिबीको रेखामुनि परेको बताएकी छन् । करिब ३५ हजार रुपैयाँलाई गरिबीको बिन्दु तोकेर अध्ययन गरिएकामा गरिबीको रेखामुनि रहेका व्यक्तिमा औसत करिब २२ हजार रुपैयाँको अन्तर देखिएको हो । अध्ययनले सरकारद्वारा प्रदान गरिने युवा सहयोग लिनेमध्ये ९० प्रतिशतले लिन छोडेको र ३३ प्रतिशतले आर्थिक समस्याका कारण अध्ययन त्यागेको समेत उल्लेख गरेको छ ।
विज्ञले अस्ट्रेलियामा महँगिँदै गएको आवास गरिबीको मुख्य कारक मानेका छन् । अस्ट्रेलियामा हरेक वर्ष औसतमा ५ प्रतिशतले आवासमा मूल्य वृद्धि हुने गरेको छ । गार्हस्थ उत्पादनका आधारमा अस्ट्रेलिया विश्वको १४औं धनी राष्ट्रको रूपमा चिनिन्छ । हरेक वर्ष अस्ट्रेलियाको आर्थिक अवस्था सुधि्रँदै गएको विभिन्न तथ्यांकले देखाए पनि २ करोड ५० लाख जनसंख्यामध्ये ३० लाखबढी जनता गरिबीको रेखामुनि बाँच्नुपर्ने बाध्यताले अत्यन्तै असहज भएको विज्ञ बताउँछन् । अस्ट्रेलियाको कुल गार्हस्थ उत्पादन सन् २०१८ मा १.४२ ट्रिलियन रहेकोमा सन् २०१९ मा १.८९ ट्रिलियन डलर पुगेको छ । अस्ट्रेलियाली नागरिकका प्रतिव्यक्ति आय वार्षिक ४५ हजार ७ सय ८० करिब ३५ लाख रुपैयाँ छ ।

विदेश

दार्जिलिङका दलले दिल्लीलाई दबाब दिने

छोटकरी
- कान्तिपुर संवाददाता

दार्जिलिङ (कास)– दार्जिलिङका गोर्खा ल्यान्ड पक्षधर क्षेत्रीय दलले आफ्ना माग पूरा गर्न केन्द्र सरकारलाई दबाब दिने भएका छन् । सिलगढीमा बिहीबार सम्पन्न बैठकपछि उनीहरूले दिल्लीलाई दबाब दिने निर्णय गरेका हुन् । त्यसका लागि सबै सम्मिलित स्टेयरिङ कमिटी बनाउने र त्यसले नै रणनीति बनाउने दार्जिलिङका सांसद राजु विष्टले बताएका छन् । बैठकमा विष्टसहित केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) का विधायक निरज जिम्बा, गोर्खा राष्ट्रीय मुक्ति मोर्चा, गोर्खा जनमुक्ति मोर्चा–१, अखिल भारतीय गोर्खा लिग, गोर्खाल्यान्ड राज्य निर्माण मोर्चा, क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीलगायतका दल उपस्थित थिए । यी सबै भाजपाका गठबन्धन दल हुन् । यससँगै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जनवरीदेखि दार्जिलिङ, तराई र डुवर्समा संविधानको छैटौं अनुसूची लागू हुनुपर्ने भन्दै गरिरहेको आन्दोलन रोकेको छ ।

विदेश

अमेरिका–तालिवान युद्धविराम आजबाट

छोटकरी
- कान्तिपुर संवाददाता

काबुल (एजेन्सी)– अमेरिका र तालिवानबीचको एक साता लामो अस्थायी युद्धविराम शनिबार सुरु हुने भएको छ । ‘सात दिन हिंसा कम गर्नेबारेको अस्थायी युद्धविराम’ शनिबार मध्यरातबाट लागू हुने अफगानिस्तान राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले बीबीसीसँग बताएका छन् । एक साता लामो युद्धविराम सफल भए दुई दशक लामो अफगान युद्ध अन्त्य गराउनेसम्मको शान्तिसम्झौता हुन सक्ने दुवै पक्षले बताएका छन् । अमेरिका र अफगानिस्तानको विद्रोही तालिवान प्रतिनिधिबीच एक वर्षभन्दा बढी समयदेखि चलेको वार्तापछि केही दिनअघि अस्थायी युद्धविराम गर्नेबारे सम्झौता भएको थियो । जसअनुसार अफगान सरकार र तालिवानबीच पनि वार्ताको सुरु हुनेछ ।

विदेश

रूसी अधिकारी स्पेनमा पक्राउ

छोटकरी
- कान्तिपुर संवाददाता

मस्को (एजेन्सी)– रुसले कामका सिलसिलामा स्पेन पुगेकी आफ्नी एक अधिकारी अमेरिकी आग्रहमा स्पेनमा पक्राउ परेको जनाएको छ । सरकारी संस्थाका लागि काम गर्ने रूसी महिला हाल स्पेनको टेनेरिफ जेलमा रहेको रुसी विदेश मन्त्रालयको दाबी छ । सरकारी प्रतिनिधिका हैसियतमा स्पेन पुगेकै बेला फेब्रुअरी १४ मा आफ्ना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै रुसले तत्काल रिहा गर्न आग्रह गरेको छ ।

विदेश

थाई अदालतद्वारा लोकतन्त्रवादी पार्टी विघटन

छोटकरी
- कान्तिपुर संवाददाता

बैंकक (एजेन्सी)– थाइल्यान्डको अदालतले लोकतन्त्रवादी एउटा पार्टीलाई शुक्रबार विघटन गर्ने फैसला गरेको छ । फ्युचर फरवार्ड पार्टी (एफएफपी) लाई अदालतले विघटन गरेको हो । सन् २०१४ को ‘कु’ पछिको निर्वाचनमा तेस्रो स्थानमा आएको उक्त पार्टीले थाइल्यान्डमा पूर्णलोकतन्त्रको माग गर्दैर् आएको छ । सेनालाई राजनीति र व्यापारबाट अलग बनाउनुपर्ने उसको भनाइ रहँदै आएको छ । यसअघिको निर्वाचनमा ६३ हजार भोट प्राप्त गरेको एफएफपी दललाई देशको शक्तिशाली मानिएको परम्परागत सेनाविरोधी पार्टीका रूपमा लिइन्छ ।

Page 9
स्वास्थ्य

हात धुँदा संक्रमणबाट मुक्ति

- अतुल मिश्र

नियमित रूपमा प्रक्रिया पुर्‍याएर साबुनपानीले राम्ररी हात धुँदा कोरोना, मौसमी रुघाखोकी, श्वासप्रश्वासबाट हुने संक्रमण, टाइफाइड, झाडापखालालगायतका थुप्रै संक्रमणबाट बच्न सकिन्छ ।
विशेषज्ञका अनुसार संक्रमण फैलन नदिने हो भने हात धुनु सबैभन्दा बढी प्रभावकारी तरिका हो । अन्य व्यक्तिलाई छुँदा केही खास रोग फैलन सक्ने भएकाले हात धुनु अत्यावश्यक मानिन्छ ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार मानिसले छोएको ठाउँमा दुई घण्टाभन्दा बढी समयसम्म कीटाणु जीवित रहन सक्छ । यति मात्र हैन, जतिबेला मानिसले दूषित वस्तु वा सतहलाई छुन्छ, उसको हातमा फोहोरमा रहेका कीटाणु टाँसिन्छ । त्यही हात उसले अनुहार, आँखा, मुखमा लाँदा र नाक आदि कोट्याउँदा र छुँदा संक्रमणको मारमा पर्छ ।
‘नियमित रूपमा साबुनपानीले हात धुँदा मौसमी रुघाखोकीलगायत श्वासप्रश्वासबाट सर्ने रोगको जोखिम ५० प्रतिशतसम्म कम हुन सक्छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डे बताउँछन् । उनकाअनुसार थुप्रै संक्रामक रोग हातको सरसफाइमा हुने कमीले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन्छ । आजकाल जीवाणु र विषाणुजन्य संक्रमण बढी हुने भएकोले पैसा र मोबाइल छोएपछि समेत हात धुन उनी सल्लाह दिन्छन् ।
नोवल कोरोना भाइरस, मौसमी रुघाखोकी, झाडा पखाला, हैजा, ग्यास्ट्रो इन्ट्राइटिस, टाइफाइड, क्षयरोग, श्वासप्रश्वासबाट सर्ने रोग, हेपाटाइटिस ‘ए’ र ‘ई’, जुका, चुर्ना, निमोनिया, छाला/आँखासम्बन्धी रोगलगायत थुप्रै रोगको संक्रमणबाट बच्न पनि नियमित हात धुनुपर्ने डा. पाण्डे जोड दिन्छन् ।
सीडीसीका अनुसार हात धुनु आफैंले लिन सकिने एक प्रकारको खोपजस्तै हो । यसले झाडापखाला र श्वाससम्बन्धी संक्रमण फैलिनबाट जोगाएर स्वस्थ रहन सघाउँछ । केही खास गतिविधिपछि नियमित रूपमा सही तरिकाले हात धुने र कीटाणुलाई हटाउने एउटा सबैभन्दा राम्रो विधि भएको उसले जनाएको छ । नियमति हात धुने बानीले बिरामी हुनबाट जोगाउनुका साथै अन्य व्यक्तिमा समेत कीटाणुको प्रसारलाई रोक्छ ।
एउटा अत्यन्त सामान्य कुरा मानिने साबुनपानीले हात धुने प्रक्रिया कडाभन्दा कडा प्रकारको संक्रामक रोगसँग लड्ने सशक्त, विज्ञान प्रमाणित हतियार हो । तर विश्वभरि गरिएका विभिन्न अध्ययनले के देखाएको छ भने, हामीमध्ये धेरैजसोले उपयुक्त रूपमा आवश्यक मात्रामा हात सफा नै गर्दैनौं । सफा गरे पनि यसलाई प्रभावकारी रूपमा गरिएको हुँदैन ।
साबुनपानीले राम्ररी धोएर वा ह्यान्ड सेनिटाइजर आदिका माध्यमले हातको स्वच्छतालाई कायम राख्दा थुप्रै प्रकारका संक्रमणजन्य रोगको रोगथाम गर्न सकिने कुरा हालै विज्ञानले प्रमाणित गरिसकेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइक्रोबायोलजी विभागका डा. पीयूष राजभण्डारी बताउँछन् ।
मुलुकको आम जनसंख्यामा हात धुने प्रक्रियाबारे विस्तृत वैज्ञानिक अध्ययन छैन । यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चरद्वारा गरिएको एउटा अध्ययन अनुसार, खानुभन्दा अघि हात धुनेले पनि ९७ प्रतिशत समय उपयुक्त रूपमा हात धुने गरेको पाइँदैन । उनीहरू राम्ररी हात धुनु र २० सेकेन्डसम्म साबुन दल्नुमा असफल हुन्छन् । यसरी कम समयमा हात धुँदा हातमा भएका सबै रोगका कीटाणुको नाश हुँदैन । अझ मिसिगन स्टेट युनिभर्सिटीद्वारा करिब सात वर्षअघि गरिएको एउटा अध्ययनमा त के पाइएको थियो भने, मात्र ५ प्रतिशत व्यक्तिले मात्र सही प्रकारले हात धुने गर्छन् ।

हात धुने उचित तरिका
राम्ररी हात धुनलार्ई न्यूनतम २० सेकेन्ड समय खर्चिनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाउँदै आएको छ । बच्चालार्ई राम्ररी हात धुन सिकाएर एउटा राम्रो बानीको विकास गर्न सकिन्छ । उचित प्रकारले हात धुनका लागि पानीमा हात भिजाएर पर्याप्त मात्रामा हातमा साबुन लगाएर दुवै हातलार्ई राम्ररी मोल्नुपर्छ । दुवै हातको औंलालार्ई आपसमा समातेर औंलाको पछाडिको खण्ड अर्को हातमा दल्नुपर्छ । एउटा हातको औंलालाई अर्को हातले समातेर घुमाउँदै दल्नुपर्छ । र, फेरि यस्तै विपरीत क्रममा समेत गर्नुपर्छ । पानीले राम्ररी हात धुनुपर्छ । धोएको हात सफा तौलियाले राम्ररी पुछ्नुपर्छ । यस्तो प्रक्रियाले हात स्वस्थ र सुरक्षित हुन्छ । राम्ररी हात धोएर त्यसलाई आफूले लगाएको लुगाको कुना, खल्तीमा राखिएको रुमालले वा सारीको आँचलले पुछ्नु हुँदैन । यसमा पहिल्यैदेखि कीटाणु रहेको हुन्छ जून चिसो हातमा टाँसिन्छन् । चिकित्सकहरूका अनुसार, सफा ठाउँमा राम्ररी घाममा सुकाइएको तौलियाले नै हात पुछ्नुपर्छ । तौलियालार्ई कीटाणुरहित बनाउन उम्लिरहेको पानीमा धुनुपर्छ ।

हातमा ३२ सय ब्याक्टेरिया
कोलेराडो विश्वविद्यालयमा गरिएको एउटा अनुसन्धान अनुसार औसत रूपमा हाम्रो हातमा १ सय ५० विभिन्न प्रजातिका ३२ सय ब्याक्टेरिया हुन्छन् । हातलाई राम्ररी सफा नगरिएको स्थितिमा हात मिलाउँदा, अर्कालाई छुँदा यो ब्याक्टेरिया अन्य व्यक्तिमा सर्छ । हातमा मानव मलमा पाइने रोगाणुहरूसमेत पाइन्छन् ।

हात धुन साबुन महत्त्वपूर्ण
हातलाई साबुनपानीले धुँदा मात्र पानीले हात धुनुको दाँजोमा धेरै बढी मात्रामा रोग उत्पन्न गर्ने जीवलाई हटाउँछ । साबुनले छालामा जलन उत्पन्न हुने व्यक्तिले यो बुझ्नु आवश्यक हुन्छ कि साबुनमा फरक ‘पीएच’ अर्थात् तटस्थ, अलिकति क्षारीय वा अलिकति अम्लीयपन हुन सक्छ । यति मात्र नभई साबुनमा भएको सुगन्धले पनि जलन उत्पन्न गर्न सक्ने औंल्याउँदै डा. पाण्डेले अप्ठ्यारो हुने व्यक्तिले साबुनलाई परिवर्तन गरेर जलनको समस्याबाट मुक्ति पाउन सक्ने बताउँछन् । यति मात्र नभई संक्रमण नहुने हिसाबले तरल साबुन ठोस साबुनभन्दा राम्रो मानिन्छ ।
जर्नल अफ एन्टिमाइक्रोविय थेरापीमा प्रकाशित एक अध्ययनअनुसार हात धुनका लागि साधारण साबुनसमेत एन्टिब्याक्टेरियल साबुन जत्तिकै प्रभावकारी हुन्छ । अनुसन्धान अनुसार, वास्तविक स्थितिमा साधारण साबुन र एन्टिब्याक्टेरियल साबुनको प्रभावमा कुनै विशेष अन्तर हुँदैन । संक्रमण मुक्त गर्ने एन्टिब्याक्टेरियललगायत साबुनको दाँजोमा सामान्य साबुनले भने विधि पुर्‍याएर हात धुन पर्ने डा. राजभण्डारी औंल्याउँछन् ।

स्वास्थ्यकर्मीबाट पनि संक्रमण खतरा
डब्लूएचओका अनुसार स्वास्थ्य निकायमा स्वास्थ्यकर्मीले हातलाई पर्याप्त र उचित रूपमा नधुँदा बिरामीलाई अस्पतालजन्य संक्रमण हुने सम्भावनामा वृद्घि हुन्छ । अस्पतालमा भर्ना भएका एक सय बिरामीमध्ये ७ जना उच्च आय भएका राष्ट्रका र १० जना मध्यम र निम्न आय भएका राष्ट्रका बिरामीलाई स्वास्थ्य रेखदेखसँग सम्बन्धित संक्रमण हुने गर्छ । इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा भएका गम्भीर रूपले बिरामी र कमजोर रोगीको हकमा भने यो एक सय जनामा ३० जनासम्म संक्रमित हुने गरेको देखिएको छ । बर्सेनि विश्वभरिमा करोडौं बिरामी स्वास्थ्य सेवासँग जोडिएको संक्रमणले प्रभावित हुन्छन् । जसमध्ये एउटा उच्च अनुपात रोगाणुका कारण हुन्छ । जो एन्टिबायोटिकप्रति प्रतिरोधी हुन्छन् । स्वास्थ्य स्याहारसँग जोडिएका संक्रमण त्यतिखेर हुन्छन्, जब स्वास्थ्य सेवा उपलब्ध गराउने व्यक्तिले छुँदा बिरामीमा रोगाणु सर्छ ।
स्वास्थ्यकर्मीहरूका लागि हातको स्वच्छताका पाँच क्षण रहेको डब्लूएचओले औंल्याएको छ । यसअन्तर्गत बिरामीलाई छुनुभन्दा अघि, स्वच्छता र कुहिने प्रक्रिया रोक्नुभन्दा अघि शरीरको तरल पदार्थको सम्पर्कपछि, एउटा बिरामीलाई छोएपछि र रोगीको परिवेश (सराउन्डिङ) लाई छोएपछि समेत संक्रमणमुक्त हुने गरी हात धुनुपर्छ । प्रत्यक्ष रोगीको सम्पर्क मात्र नभई स्वास्थ्यकर्मीलाई रोगीको सम्पर्कले गर्दा प्रदूषित सतहलाई छोएपछि समेत हातमा जीवाणु आउन सक्छन् ।
जर्नल इन्फेक्सन कन्ट्रोल एन्ड हस्पिटल इपिडिमियोलजीमा प्रकाशित सन् २०१० को एउटा अध्ययनमा के देखियो भने, मात्र ४० प्रतिशत डाक्टर र अन्य स्वास्थ्यकर्मीहरूले अस्पतालमा हात स्वच्छताको नियमलाई पालन गर्छन् । स्वास्थ्यकर्मीले कुनै न कुनै चरणमा हात उपयुक्त तरिकाले संक्रमणमुक्त हुने गरी धुनेबारे तालिम लिएको औंल्याउँदै डा. राजभण्डारी थप्छन्, ‘हात धुने प्रक्रियालाई कनिष्ठ स्वास्थ्यकर्मी, अप्रेसन गर्ने बेलामा शल्य चिकित्सकलगायतले बढी पालना गर्छन् ।’ उनका अनुसार चिकित्सकलगायतका स्वास्थ्यकर्मीले नियमित रूपमा उपयुक्त रूपले हात धुने नियमको पालना गर्दा अस्पतालजन्य संक्रमणमा कमी आउँछ ।

साबुनको भूमिका
नुहाउँदा, कपाडा धुँदा उपयोग गरिने रासायनिक पदार्थ नै साबुन हो । यसलाई बोसो, अम्लको पानीमा घुल्ने लवण भने पनि हुन्छ । यसमा मुख्य रूपमा सर्फेक्टेन्ट अर्थात् फोहोर हटाउने रसायन, डिटर्जेन्ट, ग्लिसरिन, सुगन्धीलगायत मात्रा हुन्छ । यसको प्रचलन पछिल्लो ५–६ दशकयता बढेको छ । यसअघि धेरैजसो माटो, खरानी, रिठ्ठा आदिलाई हात वा कपाललगायत सफा गर्नका लागि उपयोग गरिन्थ्यो ।
हाम्रो हात, शरीरमा भएका थुप्रै प्रकारको सूक्ष्म जीव, लवण, धुलोका कण, पसिना, तैलीय पदार्थ, मृत कोषिका आदिमा साबुन लगाउँदा पानीसँगै पखालिन्छ । बजारमा मुख्य रूपमा हात धुने र नुहाउने गरी दुई प्रकारका साबुन पाइने गरिएको रसायनशास्त्री विनय झा बताउँछन् । साबुनको गुणस्तर त्यसमा भएको कुल बोसो (टोटल फ्याटी म्याटर अर्थात् टीएफएम) मा निर्भर गर्छ ।
नुहाउने साबुनमा ६० देखि ८० प्रतिशतसम्म टीएफएम प्रयोग गरिन्छ । यस्तै नुहाउने साबुनमा सुगन्धीलगायतका अन्य थुप्रै पदार्थसमेत थपिने गरिन्छ ।

साबुन नभए सेनिटाइजर
हातमा भएको कीटाणुको संख्यामा कमी ल्याउन साबुनपानीले हात धुनु सबैभन्दा उपयुक्त तरिका हो । तर यदि साबुनपानी छैन भने अल्कोहलमा आधारित ह्यान्ड सेनिटाइजर उपयोग गर्न सकिन्छ । सीडीसीका अनुसार, यस्ता सेनिटाइजरमा कम्तीमा ६० प्रतिशत अल्कोहल हुनुपर्छ । अल्कोहलमा आधारित सेनिटाइजरले हातमा भएको कीटाणुलार्ई छिटो कम गर्न मद्दत गर्छ । तर यस्ता सेनिटाइजरले भने सबै प्रकारका कीटाणुलाई हटाउन सक्दैन । सीडीसीका अनुसार, जतिबेला हातलाई हेर्दा नै फोहोर देखिन्छ त्यतिबेला ह्यान्ड सेनिटाइजर प्रभावकारी हुँदैन ।

Page 10
समाचार

औद्योगिक क्षेत्र पनि वनमै

- मोहन बुढाऐर

सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरी जंगल क्षेत्रमा प्रदेश राजधानी राख्ने निर्णय गरेको पाँच महिनापछि केन्द्र सरकारले अर्को वन मासेर औद्योगिक क्षेत्र स्थापना गर्न खोजेको छ । अन्तर्राष्ट्रिय जैविकमार्गमा पर्ने डुडेझारीमा कम्तीमा एक हजार बिघा वन फाँडेर औद्योगिक क्षेत्र बनाउन लागिएको हो ।
वन तथा वातावरण क्षेत्रका विज्ञहरूले भने वन मासेर औद्योगिक क्षेत्र बनाउन नहुने औंल्याएका छन् । ‘वन्यजन्तु ओहोरदोहोर गर्ने कर्णाली करिडोरको चुरे जोड्ने मुख्य घाँटी डुडेझारी वन क्षेत्रको महत्त्वलाई बुझौं,’ तराई भूपरिधि (ताल) कार्यक्रमका प्रबन्धक सुमन सुवेदीले भने, ‘औद्योगिक क्षेत्रको स्थापना गर्न अन्य ठाउँ रोज्दा राम्रो हुन्छ ।’ डुडेझारी मास्यो भने भारतको जिमकर्बोटदेखि नेपालको पर्सा राष्ट्रिय निकुञ्जसम्मका वन्यजन्तु ओहोरदोहोर गर्ने मार्ग अवरोध हुने उनले बताए । सुवेदीका अनुसार डुडेझारीले चुरे, कर्णालीको तट, बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको दुदुवा नेसनल पार्कलाई जोडेको छ । पछिल्लो समय कर्णाली जैविकमार्गमा वन्यजन्तुको आवागमन बढ्दै गएको छ । ताल कार्यक्रमले यो क्षेत्रमा वन्यजन्तुको बासस्थान सुधार, वन क्षेत्रको हैसियतमा वृद्धि, दिगो तथा वैज्ञानिक वन व्यवस्थापन, मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरण र मध्यवर्ती क्षेत्रका बासिन्दामा जीविकोपार्जनका कार्यक्रम पनि सञ्चालन गरेको उनले बताए । ‘वन्यजन्तु ओहोरदोहोर गर्ने जैविकमार्ग मात्रै हैन, चुरेको फेदमा पर्ने डुडेझारी वन क्षेत्र तराईका लागि पानी रिचार्ज एरिया पनि हो,’ उनले भने ।
रानीजमरा, कुलरिया सिँचाइ आयोजना र चिसापानी बजार विस्तारले समेत कर्णाली करिडोर प्रभावित भइरहेको छ । यसैमा डुडेझारीको वन क्षेत्र मासिएपछि चुरे जोड्ने करिडोरको घाँटी रेटिने सुवेदीको भनाइ छ ।
संरक्षणका क्षेत्रमा अब्राहम लिंकन अवार्ड विजेता संरक्षणकर्मी राजबहादुर ऐरले वन मासेर औद्योगिक क्षेत्र स्थापना गर्न खोज्नु ठीक नभएको बताए । ‘औद्योगिक क्षेत्र चाहिन्छ,’ उनले भने, ‘तर महत्त्वपूर्ण वन मासेर स्थापना गर्नु उचित होइन । उजाड भएर अतिक्रमणको चपेटामा परेको जग्गा हेरौं ।’ उनले औद्योगिक क्षेत्र स्थापना गर्न वन क्षेत्रबाहेकको सरकारी जमिन भेटिने दाबी गरे ।
ऐरले प्रदेश सरकारले राजधानी स्थापना गर्न छानेको गोदावरी तेघरी सामुदायिक वन र अहिले औद्योगिक क्षेत्र राख्ने भनिएको डुडेझारी वन दुवै वन्यजन्तुको अन्तर्राष्ट्रिय जैविकमार्ग रहेको बताए । डुडेझारी वन त झन् बलिदानबाट जोगिएको उनले बताए । ०६५ मा डुडेझारी क्षेत्रमा सुकुम्बासीबाट अतिक्रमण प्रयास भएको थियो । सरकारले अतिक्रमणकारी हटाउने क्रममा सुरक्षाकर्मी, वनकर्मी र सुकुम्बासीबीच झडप हुँदा दुई जना प्रहरी र तीन जना सुकुम्बासीको मृत्यु भएको थियो । ‘सुकुम्बासीको अतिक्रमणबाट जोगाउन त्यहाँ सशस्त्र प्रहरी राख्ने सर्वपक्षीय र सर्वदलीय सहमति भएको हो,’ उनले भने, ‘सोही निर्णयका आधारमा डुडेझारीमा हाल सशस्त्र प्रहरीको बेसक्याम्प बसेको छ ।’ पूर्व–पश्चिम राजमार्गलाई जोड्ने डुडेझारी क्षेत्र चिसापानीबाट तीन किलोमिटर पश्चिममा छ । त्यहाँ करिब २५ हेक्टर घाँसे मैदान छ । वरपर सालको घनाजंगल छ । घाँसे मैदानको एकछेउमा सशस्त्र प्रहरी बलको क्याम्प छ ।
ऐरले सरकारको आँखा राम्रो वनजंगल भएको ठाउँमा पर्नुमा काठ व्यवसायीको प्रभाव प्रमुख कारण रहने गरेको बताए । ‘रूख काट्ने योजनामा व्यवसायीले सरकारलाई राम्रो वन क्षेत्र रोज्न लगाउँछन्,’ उनले भने, ‘राजधानी र औद्योगिक क्षेत्र स्थापना गर्न चाहिनेजति जमिन वनजंगल नभएको ठाउँमा छैन र ?’ प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खनालले औद्योगिक क्षेत्र स्थापनाका लागि विकल्प भएसम्म खाली र खुला क्षेत्र रोज्नुपर्ने बताए । ‘नेपालले जलवायु, पर्यावरणीय, जैविक विविधता र विपद्सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा हस्ताक्षर गरेको छ,’ उनले भने, ‘त्यसकारण पनि विश्वव्यापी मान्यताअनुसार वनजंगलको संरक्षणमा जोड दिन र त्यसको क्षति कम हुने गरी काम गर्नुपर्छ ।’ सचिव खनालले औद्योगिक क्षेत्र सथापना गर्न हेरिएको डुडेझारी वातावरणीय महत्त्वको दृष्टिले अनुउपयुक्त भएको बताए । ‘त्यस ठाउँमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णयमा जानुअघि विज्ञहरूको राय/सल्लाह आवश्यक छ,’ उनले भने, ‘सकेसम्म अर्को ठाउँ औद्योगिक क्षेत्रलाई रोज्ने काम गर्दा राम्रो हुनेछ ।’ खनालले वातावरणीय प्रभाव मूल्यांकनलगायतका अध्ययन गर्न आवश्यक पर्ने बताए ।
केही दिनअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले डुडेझारीको स्थलगत अवलोकन गरेका थिए । उनले डुडेझारी औद्योगिक क्षेत्र घोषणाको फाइल तयार भएर निर्णयका
लागि मन्त्रिपरिषद्मा लैजान लागेको जानकारी दिएका थिए ।

Page 11
अर्थ वाणिज्य

अब नव उद्यमीलाई ५० लाख

कार्यविधिले नयाँ उद्यम व्यापारका लागि बीउ पुँजी नभएकालाई सहयोग पुर्‍याउनेछ
- नुमा थाम्सुहाङ

वीनतम ज्ञान, सीप र क्षमता भएका आविष्कारक एवं उद्यमी व्यवसायीलाई सरकारले ५० लाख रुपैयाँसम्म अनुदान दिने भएको छ । अर्थ मन्त्रालयले ‘नव प्रवर्तन सुरुवाती पुँजी अनुदान कार्यविधि–०७६’ जारी गरी बीउ पुँजीको ५० प्रतिशत तर ५० लाख रुपैयाँभन्दा बढी नहुने गरी अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरेको हो । उक्त कार्य सञ्चालनका लागि प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्ने कार्यविधिमा उल्लेख छ । यो कार्यविधिले नयाँ उद्यम व्यापारका लागि सोच भएका तर बीउ पुँजी नभएका नव उद्यमीलाई सघाउ पुग्नेछ । तर यो रकम लिन कार्यविधिले विविध व्यवस्था गरेको छ ।
‘अनुदानको रकम जुन प्रयोजनका लागि प्राप्त भएको हो, सोही प्रयोजनमा खर्च गर्नुपर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘अनुदान प्राप्त गर्न स्थायी लेखा नम्बरको प्रमाणपत्र र कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको हुनुपर्नेछ ।’ अनुदान वितरणका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा आयोग, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सदस्य रहनेछन् । जुन समितिमा अनुदान रकम प्राप्त गर्न प्रस्ताव पेस गर्नुपर्ने छ । तर यो अनुदान रकम माग गर्न समितिले सूचना जारी गर्नेछ । समितिले दुई वटा राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी उद्यमीहरूसँग यसको बृहत् विवरण माग गर्नेछ । त्यति बेला यो अनुदान माग गर्नेहरूले समितिसमक्ष प्रस्ताव पेस गर्ने हो ।
प्रस्तावको बृहत् विवरण सोही सूचनामा समितिले उल्लेख गर्नुपर्ने कार्यविधिले तोकिदिएको छ । प्रस्ताव पेस भएकाहरूको विषयमा समितिले ३० दिनभित्र निर्णय गरिसक्नुपर्नेछ । यस्ता प्रस्ताव छनोट गर्न समितिले एक जना संयोजक तोक्नेछ । जसमा कुनै एक मन्त्रालयका सहसचिव र अर्को एक जना विज्ञ हुनेछन् । समितिले प्रस्तावकमध्ये छनोट भएकालाई जानकारी गराउनेछ । राष्ट्रिय योजना आयोगको वेबसाइटमा समेत विवरण सार्वजनिक गर्नुपर्ने कार्यविधिले व्यवस्था गरेको छ ।
‘अनुदानमा छनोट भएका आविष्कारकर्ता, उद्यमी वा व्यवसायी व्यक्ति वा संस्थासँग प्रस्ताव कार्यान्वयन गर्ने अवधिलगायत अन्य विषयमा समितिले आवश्यक सम्झौता गर्न सक्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘उक्त सम्झौताको प्रतिसहित मन्त्रालय र सम्बन्धित मन्त्रालयमा लेखी पठाउनुपर्नेछ ।’ अनुदान रकम तीन किस्तामा उपलब्ध हुनेछ । स्वीकृत भएको कार्य सुरु गरेपछि सम्झौताअनुसारको पहिलो किस्ता उपलब्ध हुनेछ । कार्य प्रगतिका आधारमा दोस्रो किस्ता र कार्य सम्पन्न भएपछि अन्तिम किस्ता उपलब्ध गराइनेछ । यस्तो अनुदान लिने व्यक्ति वा संस्थाले प्रत्येक चौमासिक र वार्षिक प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयमा पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । लिइएको अनुदान रकम स्वीकृत भएको कार्यक्रममै प्रयोग नभए सरकारी बाँकीसरह असुलउपर गर्ने कार्यविधिमा उल्लेख छ ।
युवामा अहिले नव उद्यमी अर्थात् ‘स्टार्टअप बिजनेस’ गर्ने लहर छ । स्टार्टअपलाई सहयोग गर्ने केही संस्था पनि खुलेका छन् । जसले उनीहरूको व्यवसायलाई बढाउन केही सहयोग पुुर्‍याउँदै आएका छन् । सरकारले स्पष्ट व्यवस्था नगरेको र गर्नुपर्ने भन्दै लामो समय छलफल भएको थियो । केही वर्षयता सरकारले नव उद्यमीका लागि बीउ पुँजी उपलब्ध गराउने भन्दै बजेटसमेत विनियोजन गर्दै आएको छ । तर स्पष्ट कार्यविधि नबन्दा प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।
‘सरकारले नव उद्यमीका लागि ल्याएको यो व्यवस्था राम्रो हो,’ युवा उद्यमी मञ्चकी महिला उपाध्यक्ष उपासना श्रेष्ठले भनिन्, ‘कोही व्यक्तिसँग आइडिया धेरै हुन्छन् तर आर्थिक स्रोतको माध्यम नै जुटाउन मुस्किल छ ।’ अहिले कोही परिवारबाट, सहकार्यमा र नव उद्यमीका लागि आयोजना गरिएको प्रतिस्पर्धाबाट मात्र आर्थिक स्रोत जुटाइरहेकाले सरकारको यो व्यवस्था ठूलो अवसर रहेको उनको भनाइ छ ।
नव उद्यमी भनेको पुँजी लगाएर डुबाउने मात्र नभएको उनको तर्क छ । ‘उद्यमीलाई पुँजीको ५० प्रतिशत रकमको अनुदान भनेको धेरै सहयोग हो, जसले बजार व्यवस्थापनमा सहयोग पुर्‍याउँछ,’ उनी भन्छिन्, ‘अहिले ५ देखि १० लाख रुपैयाँबाट पनि नव उद्यम सुरु गर्ने धेरै छन् । त्यसको कुल पुँजीको ५० प्रतिशत सरकारले अनुदान दिन्छ भने अन्य आर्थिक स्रोतका लागि भौंतारिइरहनु परेन ।’

अर्थ वाणिज्य

साढे ५ अर्बका ठेक्का अति रुग्ण

पप्पुका मात्रै डेढ अर्बका १० वटा ठेक्का, प्रगति ५० प्रतिशतभन्दा कम
- विमल खतिवडा

साढे ५ अर्ब रुपैयाँ बराबरका ठेक्का अति रुग्ण रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको रुग्ण आयोजनासम्बन्धी प्रतिवेदनअनुसार म्याद थप गर्दा पनि तिनको प्रगति न्यून देखिएको छ । केही समयअघि सार्वजनिक प्रतिवेदनअनुसार ४८ वटा ठेक्कामध्ये प्रायको प्रगति ५० प्रतिशतभन्दा कम छ । ५ अर्ब ३६ करोड १० लाख १९ हजार रुपैयाँका ठेक्कामध्ये ३८ वटाको प्रगति आधाभन्दा कम छ ।
त्यसमा पनि सबैभन्दा कम प्रगति पप्पु कन्स्ट्रक्सनले लिएका ठेक्कामा देखिएको छ । प्रतिवेदनअनुसार पप्पुका ज्वाइन्ट भेन्चर ठेक्का मात्र १० वटा छन् । तिनको ठेक्का रकम १ अर्ब ५१ करोड ९५ लाख ९६ हजार छ । पप्पुले जिम्मा लिएका ठेक्काको प्रगति म्याद थप गर्दा ५० प्रतिशत पुग्न सकेको छैन । केही ठेक्काको भने म्याद थप गरेपछि पनि प्रगति ३ प्रतिशतभन्दा बढी हुन सकेको छैन ।
‘यी सबै अति रुग्ण ठेक्काभित्र पर्छन्,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘जसमा अनियमितता र भ्रष्टाचारको आशंका छ । त्यसैले यी आयोजना अनुसन्धानको दायरामा परेका छन् ।’ काम सन्तोषजनक नभएको र अनियमितता एवं भ्रष्टाचारको आशंका रहेका त्यस्ता आयोजना अनुसन्धानको दायरामा आउने उनले बताए । समयमै काम नगर्ने ठेकेदार र ठेक्का लगाउने दुवै पक्षलाई कारबाही गरिने कोइरालाको भनाइ छ ।
‘आयोजना रुग्ण बनाउने निर्माण व्यवसायी मात्र होइनन्, यसमा ठेक्का लगाउने, हेर्ने पक्ष पनि संलग्न छन्,’ उनले भने, ‘यी सबै आयोगको अनुसन्धान दायरामा परिसकेका छन् ।’ अनुसन्धानका क्रममा आयोजना निर्माणमा नियम पालना भएको छ/छैन, समयभित्र काम सम्पन्न भयो/भएन र गुणस्तरीय काम गरिएको छ/छैन हेर्ने गरिन्छ । ‘अति रुग्ण ठेक्कामा यी कुनै पनि नियम पालना गरिएको पाइएन,’ उनले भने । आयोगका अनुसार १८ अर्ब ११ करोडका ७ सय १ वटा ठेक्का भने रुग्ण छन् ।
प्रतिवेदनअनुसार ०६४ सालमा सुरु भएका ठेक्का अझै सकिएका छैनन् । यस्ता ठेक्कालाई सरकारले पटकपटक खरिद नियमावली संशोधन गर्दै समय उपलब्ध गराउँदै आएको छ । चालु आवमा चार पटक नियमावली संशोधन गरी सरकारले कामै नगर्ने ठेकेदारलाई सहज बनाइदिएको छ । खरिद नियमावलीको नवौं संशोधनले रुग्ण ठेक्कालाई एक वर्ष समय थप गर्ने व्यवस्था गरिदिएको छ । ‘सरकारले सदाशय देखाएर एक वर्ष म्याद गर्ने व्यवस्था मिलाइदिएको छ,’ सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले भने, ‘त्यो समयमा पनि काम सकिएन भने ठेक्का तोडिन्छ ।’ काम नसक्नेको ग्यारेन्टी जफत र कामको मूल्यांकन गरेर भुक्तानी लिएको रकमबाट असुल गर्दै ठेक्का तोडिने उनको भनाइ छ ।
अख्तियारले तयार पारेको सुझावसहितको प्रतिवेदन विभागमा आएको उनले बताए । ‘रुग्ण ठेक्कासम्बन्धी प्रतिवेदनअनुसार ठेक्काको अवस्था सुधारोन्मुख छ,’ उनले भने, ‘सुझाव पनि आएको छ, यसलाई मनन गरेर कार्यान्वयन गर्दै अघि बढ्नेछौं ।’ रुग्ण ठेक्का र कामै नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने माग बेलाबेलामा सांसद्ले समिति र संसद्मा उठाउँदै आएका छन् । निर्माण व्यवसायीकै कारण ठेक्का अलपत्र पर्ने गरेको र सरकारले उल्टै उनीहरूकै पक्षमा ऐननियम संशोधन गरेर उन्मुक्ति दिने गरेको सांसदको आरोप छ ।
संसद्को अर्थ समितिले बिहीबार आयोजना गरेको छलफलमा नेकपा सांसद रामकुमारी झाँक्रीले शक्तिशाली व्यक्ति तथा समूहको प्रभावमा परेर सरकारले खरिद नियमावली संशोधन गरेको आरोप लगाइन् । ‘यसैगरी नियमावली संशोधन गर्दै जाने हो भने त्यसले अस्थिरता सिर्जना गर्छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा समयमै आयोजना कसरी पूरा हुन्छन् ? यसको मोनिटरिङ कसरी हुन्छ ?’
सरकारले एक वर्षसम्म ठेकेदारलाई काम गर्न नदिई हात बाँधेर राखिदिने र पछि उनीहरूकै पक्षमा नियमावली संशोधन गरेर पुरस्कृत गर्ने काम गरेको उनको आरोप छ । ‘उनीहरूले एक वर्ष काम गरेनन्,’ उनले भनिन्, ‘फेरि खराब ठेक्कालाई पनि एकैचोटी एउटै निर्णयले सबैको म्याद थपेर काम गर्न दिइयो, छलफल नै नगरी एउटै कारणले म्याद थपियो, फेरि पहिला रोकेकालाई काम गर्न दिइयो, किन ?’ बाँकी यता प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै निर्माण व्यवसायीले धेरै ठेक्का लिँदा आयोजना रुग्ण बनेको आरोप लगाएका छन् । फागुन ३ गते
संसद्मा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले क्षमता र कार्यबोझको वस्तुपरक आकलन नै नगरी सीमित निर्माण व्यवसायीलाई धेरै ठेक्का दिने परिपाटीले समस्या भएको बताए । यही कारणले गर्दा पुँजीगत खर्च कम भएको उनको दाबी छ ।
‘पुँजीगत खर्चमा सुधार भएन, सरकारको खर्च गर्ने क्षमता देखिएन भन्ने टिप्पणी सुन्दै आएको छु,’ उनले भने, ‘खर्च कम हुनुका धेरै कारण छन्, जसमध्ये एउटा कारण ठेक्काको म्याद थपका लागि समयमै अनुरोध नआउनु वा म्याद थप हुन नसक्नु पनि हो ।’ प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको तथ्यांकअनुसार सहरी विकास मन्त्रालयअन्तर्गत ३ सय ६८ ठेक्कामध्ये २ सय ३९ को म्याद सकिइसकेको छ । खानेपानी मन्त्रालयतर्फ ७२ अर्ब ८० करोड बराबरका १ सय १५ ठेक्कामध्ये ६८ वटाको म्याद सकिएको छ । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका सडक र पुल गरी करिब ६ अर्ब वैदेशिक स्रोत नमिलेकै कारण काम सम्पन्न भएर पनि भुक्तानी हुन सकेको छैन ।
संसद्मा ओलीले सार्वजनिक गरेको तथ्यांकअनुसार सहरी विकासतर्फ १८ कम्पनीले ४४ दशमलव ४ प्रतिशत रकम बराबरको ठेक्का ओगटिरहेका छन् । सडकतर्फ १८ कम्पनीले २ खर्ब ३९ अर्ब ४७ करोड अर्थात् ४७ दशमलव ६ प्रतिशत बराबर र खानेपानीतर्फ १८ कम्पनीले ६६ दशमलव ७ प्रतिशत रकमका ठेक्का ओगटेका छन् ।
‘सरकारले विरासतमा पाएका यस्ता कैयौं बेथिति अहिले सच्याउँदै छ,’ उनले भने, ‘अधुरा अपुरा कामलाई सम्पन्न गर्दै छ, यसका लागि सार्वजनिक खरिद नियमावलीमा सुधार गरी अधुरा तथा रुग्ण ठेक्कालाई अन्तिम पटक काम गर्ने अवसर दिइएको छ ।’ ठेक्का हुनेबित्तिकै निर्माण व्यवसायीले कुल ठेक्काको २० प्रतिशत पाउने र रकम खर्च गरिहाल्ने हुँदा पुँजीगत खर्च बढेको थियो । ‘पहिला काम सुरु गर्न भन्दै ठेक्का हुनासाथ पेस्की रकम दिने नियम थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘काम सुरु नै गर्न सकिँदैन भने ठेक्का किन लिने ? त्यो कस्तो ठेकेदार हो, जसले ठेक्का लिन्छ, काम सुरु गर्न सक्दैन ।’ अहिले मोबिलाइजेसन खर्चलाई ५ प्रतिशतमा झारिएको उनले बताए । त्यो पनि काम सुरु गरेपछि मात्र दिने नियम बनाइएको उनको भनाइ छ । ‘त्यही भएर पुँजीगत खर्चमा २० प्रतिशत कम देखिएको हो,’ उनले भने ।

Page 12
अर्थ वाणिज्य

सडक सुरक्षित गर्न १ खर्ब चाहिने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सडक दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित सडक बनाउन नेपाललाई आगामी एक दशकमा थप १ खर्ब रुपैयाँ आवश्यक पर्ने विश्व बैंकको नयाँ अध्ययनले देखाएको छ ।
स्विडेनको स्टकहोममा आयोजित सुरक्षित सडकसम्बन्धी तेस्रो विश्वव्यापी मन्त्रीस्तरीय सम्मेलनका क्रममा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।
‘दक्षिण एसियामा सडक सुरक्षा : क्षेत्रीय साझा अभियानको अवसर’ नामक अध्ययन प्रतिवेदनमा नेपालसहित भारत, भुटान र बंगलादेशमा सडक दुर्घटनाका तुलनात्मक अध्ययन गरिएको छ । नेपालमा मात्रै सन् २००० यता सडक दुर्घटनाको दर बढ्दो क्रममा रहेको प्रतिवेदनमा जनाइएको छ । सन् २०१७/१८ मा प्रति एक लाख जनसंख्यामा सडक दुर्घटनामा मृत्यु हुने दर ८ दशमलव ५९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकका लागि दक्षिण एसियाली उपाध्यक्ष हार्टविथ सफरले दक्षिण एसियामा पछिल्लो समय भएको तीव्रतर आर्थिक वृद्धिदरले सवारी साधन किन्नेको संख्या बढेको र सडक दुर्घटनामा मृत्युदर बढ्दा आर्थिक अवसरमा धक्का पुग्ने धारणा राखे ।
दक्षिण एसियामा सडक दुर्घटनाको अवस्था भयावह अवस्थामा भए पनि यसलाई रोक्न सकिने उनको भनाइ थियो । विश्व जनसंख्याको ठूलो हिस्सा ओगट्ने दक्षिण एसियामा सडक र सवारी सुरक्षा प्रमुख प्राथमिकता हुनुपर्ने अध्ययन प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनले सडक र सवारी सुरक्षाका लागि क्षेत्रीय रूपमा अभियान थाल्नुपर्ने औंल्याएको छ ।
क्षेत्रीय व्यापार करिडोरमा दुर्घटना बढी हुने र सडक पनि असुरक्षित रहेको अध्ययनले देखाएको छ । यस्ता करिडोरमा जनावरदेखि पैदलयात्री, मोटरसाइकल, रिक्सा, तीनपांग्रे, कार, मिनी बसजस्ता सबै खालका सवारी चल्ने भए पनि लेन साँघुरो रहेको र पैदलयात्रीका लागि पर्याप्त सुविधा नभएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालसहित भारत र बंगलादेशका राजमार्गको तथ्यांकअनुसार प्रतिकिलोमिटर शून्य दशमलव ३ देखि ३ वटासम्म मृत्युका घटना भएको प्रतिवेदनमा जनाइएको छ ।

अर्थ वाणिज्य

१६ बैंकको कल डिपोजिट १०५ भन्दा बढी

- कान्तिपुर संवाददाता

बैंक तथा वित्तीय संस्थाले ठूलो परिणाममा ‘कल डिपोजिट’ राख्ने प्रवृत्ति रोक्न राष्ट्र बैंकले प्रयास थाले पनि तत्काल नियन्त्रणको सम्भावना न्यून देखिएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये गत पुससम्म १६ वटाको कल डिपोजिट निर्देशित सीमा (१० प्रतिशत) भन्दा बढी रहेकाले तत्काल नियन्त्रणको सम्भावना कम देखिएको हो । राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकले ०७७ असारसम्म कल डिपोजिट संस्थाको कुल निक्षेपको बढीमा १० प्रतिशत कायम गर्नुपर्छ ।
‘कल डिपोजिट’ मुद्दती, चल्ती र साधारण बचतजस्तै एक किसिमको निक्षेप खाता हो । यो खातामा कम अवधिका लागि निक्षेप राखिन्छ । छिनछिनमा धेरै रकमको कारोबार गर्ने व्यक्ति वा व्यवसायीका लागि यो खाता उपयोगी हुन्छ । तत्काल धेरै रकम बचत गर्नुपर्ने र रकम झिक्ने टुंगो नहुने भएकाले यो खातामा जम्मा हुने बचतको प्रकृति अल्पकालको हुन्छ । व्यवसायी तथा ठूला व्यावसायिक घरानाले यही खातामा बचत गर्छन् । अल्पकालीन प्रकृतिको हुने भएकै कारण बैंकहरूले पनि यो खातामा केहीले धेरै त कहिले कम ब्याज दिन्छन् । यसकारण यो खाताको ब्याजदर प्रायः परिवर्तन भरहन्छ । यद्यपि हाल बैंकले कल डिपोजिटमा साधारण बचतमा दिने ब्याजभन्दा बढी ब्याज दिन नपाइने राष्ट्र बैंकको निर्देशन छ । यो खातामा रहेको रकम जति बेला पनि बाहिरिन सक्ने आधारमा लामो अवधिका लागि ऋण दिँदा जोखिम हुने भएकाले राष्ट्र बैंकले नियन्त्रण गर्न चाहेको हो ।
‘वाणिज्य बैंकले स्वीकार गर्ने कल डिपोजिटको अंश कुल निक्षेप दायित्वको १० प्रतिशत र ‘ख’ तथा ‘ग’ वर्गका वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी कायम गर्न पाइने छैन,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । उक्त परिपत्र जारी हुँदा उल्लिखित प्रतिशतभन्दा बढी कल डिपोजिट भएका बैंक तथा वित्तीय संस्थाले ०७७ असारसम्म सो सीमाभित्र ल्याइसक्नू पनि राष्ट्र बैंकले भनेको छ ।
परिपत्र जारी हुँदा तोकिएको सीमाभन्दा बढी कल डिपोजिट भएका बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले थप त्यस्तो निक्षेप लिन बन्देज लगाएको छ । तर बजारमा तोकिएको सीमाभन्दा बढी कल डिपोजिट भएका बैंक तथा वित्तीय संस्थाले पनि निक्षेप संकलन गरेको देखिन्छ । यसबारे राष्ट्र बैंक भने मौन छ ।
गत पुससम्म एनसीसी बैंकको कल डिपोजिट बैंकको कुल निक्षेपको २४.१५ प्रतिशत छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको यस्तो निक्षेप करिब २१ प्रतिशत, प्राइमको करिब २०, सिभिलको करिब १६, सेन्चुरीको १५, कुमारीको १६ र नबिलको १३ प्रतिशत छ । सिटिजन्स, एभरेस्ट, माछापुच्छ्रे, मेगा, नेपाल बंगलादेश, नेपाल इन्भेस्टमेन्ट, एनएमबी, प्रभु र सिद्धार्थ बैंकको कल निक्षेप १० प्रतिशतभन्दा बढी छ । बाँकी कृषि विकास बैंक, बैंक अफ काठमान्डू, ग्लोबल आईएमई, हिमालयन, नेपाल बैंक, एनआईसी एसिया, एसबीआई, राष्ट्रिय वाणिज्य, सानिमा र सनराइज बैंकका कल डिपोजिटको हिस्सा कुल निक्षेपको १० प्रतिशतभन्दा कम छ ।
कल डिपोजिटलाई कुल निक्षेपको १० प्रतिशतभित्र कायम राख्न अझै करिब ५ महिना बाँकी रहेकाले सो अवधिमा बैंकले निर्देशित सीमाभित्र ल्याइसक्ने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘कुल निक्षेपमा कल डिपोजिटको हिस्सा धेरै हुनुहुँदैन भन्ने पक्षमा बैंकर पनि छन्,’ उनले भने, ‘०७७ असारसम्म बैंकहरूले निर्देशित सीमामा कल डिपोजिट ल्याउनेछन् ।’
राष्ट्र बैंकको तथ्यांकअनुसार बजारको कुल निक्षेपमा कल डिपोजिटको हिस्सा करिब १२ प्रतिशत छ । यो सबै बैंकसँग रहेको कुल निक्षेप र कल डिपोजिटको हिस्सा हो । ‘इन्डस्ट्रीमै कुल निक्षेपमा कल डिपोजिटको हिस्सा करिब १२ प्रतिशत रहेकाले बैंकहरूले पनि कुल निक्षेपको बढीमा १२ प्रतिशत कल डिपोजिट राख्न पाउने व्यवस्था माग गरेका छौं,’ उनले भने, ‘यो तर्कमा राष्ट्र बैंकबाट पनि सकारात्मक आश्वासन पाएका छौं ।’
विगतमा बैंकहरूले कल डिपोजिटमा नक्कली निक्षेप जम्मा गर्ने प्रचलन पनि थियो । विकास बैंकले वाणिज्य बैंकबाट ऋण लिने र उक्त रकम सोही बैंकको कल डिपोजिटमा जम्मा गरी ब्याज खाने चलन पनि थियो । यसो गर्दा एउटै रकम ऋण प्रवाह र निक्षेप संकलनमा गणना हुने भएकाले त्यसलाई नक्कली निक्षेप भनिएको हो । ऋण लिएको बैंकमै निक्षेप गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेपछि नक्कली निक्षेप सिर्जनमा भने कमी आएको बताइएको छ ।

Page 13
समाचार

एमसीसीमा अमेरिकी लबिइङ बढ्दो

- जगदीश्वर पाण्डे

संसद्मा विचाराधीन अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन गर्ने कि नगर्ने भन्ने विवाद सत्तारूढ दल नेकपाभित्र चलिरहेका बेला अमेरिकी उच्च प्रतिनिधिहरूको नेपाल भ्रमण
बाक्लिएको छ । एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स प्रधानमन्त्री र नेकपाका वरिष्ठ नेताहरूलाई भेटेर वासिङ्टन फर्केको दुई साता नपुग्दै अमेरिकाबाट फेरि अर्को उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ ।
माघ २४ मा आएका ब्रुक्सले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री युवराज खतिवडासहित नेकपाको एमसीसी अध्ययन कार्यदल संयोजक झलनाथ खनाल तथा सदस्यद्वय प्रदीप ज्ञवाली (परराष्ट्रमन्त्री) र भीम रावललाई भेटेका थिए । उनले भेटमा एमसीसी सम्झौतालाई जतिसक्दो छिटो
संसद्बाट अनुमोदन गरेर कार्यान्वयनमा लानुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री ओली र अन्य मन्त्रीले पनि सम्झौता संसद्बाट छिट्टै अनुमोदन हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अमेरिकी कंग्रेसका सदस्यद्वय अमी बेरा र जर्ज होल्डिङ बिहीबार चारदिने भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनीहरूले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवाली र अर्थमन्त्री खतिवडालाई छुट्टाछुट्टै भेटेर एमसीसी सम्झौताकै विषयमा छलफल गरेका छन् । बेरा र होल्डिङले प्रधानमन्त्री ओलीलाई बिहीबार साँझ प्रधानमन्त्री निवास
बालुवाटारमा भेटेका थिए भने परराष्ट्रमन्त्री ज्ञवाली र अर्थमन्त्री खतिवडालाई सिंहदरबारस्थित उनीहरूकै कार्यकक्षमा भेटेका थिए । ओली, ज्ञवाली र खतिवडाले अमेरिकी सांसदद्वयलाई एमसीसी सम्झौता छिट्टै अनुमोदन हुनेमा ढुक्क रहन आग्रह गरेका छन् । बेरा र होल्डिङले एमसीसी सम्झौता अनुमोदनले दुई मुलुकबीचको सम्बन्ध निर्धारण गर्ने बताएका छन् ।
हरेक भेटमा प्रधानमन्त्री ओलीसहित अन्य मन्त्रीले एमसीसी सम्झौता छिट्टै अनुमोदन भएर कार्यान्वयनमा जाने उल्लेख गर्दै आएका छन् तर नेकपाभित्र एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवाद नसुल्झिएकाले अमेरिकाको शंका नहटेको हो । त्यसैले अमेरिकाले राजदूतस्तरमा मात्र नभई राजनीतिक र उच्च अधिकारीहरूलाई नै वासिङट्नबाट काठमाडौं पठाएर लबिइङ बढाएको हो । यहाँ कम्युनिस्ट पार्टी सरकारमा भएकाले पनि अमेरिकाका उच्च अधिकारीहरूले पटक–पटक नेपाल भ्रमण गरेर एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुनेमा ढुक्क हुन खोजिरहेको नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालको विश्लेषण छ । ‘उनीहरूलाई थाहा छ, कम्युनिस्ट पार्टीको चरित्र भनेको सरकारभन्दा पार्टी बलियो हुने हो । पार्टीको निर्णयले नै सरकारको निर्णयलाई निर्धारण गर्छ,’ उनले भने, ‘त्यसैले अमेरिकी अधिकारीहरूले पटक–पटक सरकार र नेकपाका नेताहरूसँग छलफल गरिरहेका छन् ।’
अमेरिकी राजदूत र्‍यान्डी बेरीले माघको सुरुआतमै नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वरमा पुगेर एमसीसी सम्झौताको विषयमा कुरा राखेका थिए । नेता नेपालले त्यतिबेला एमसीसी सम्झौतालाई लिएर नेकपाभित्र कार्यदल गठन गरी सुझाव पेस गर्न भनिएको उल्लेख गर्दै सुझाव आएपछि सम्झौतालाई अघि बढाउने बताएका थिए ।
सरकारको दुईवर्षे कार्यकालमा एमसीसी सम्झौतालाई लिएर प्रधानमन्त्री ओलीलाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी आधा दर्जन पटक बालुवाटार छिरिसकेका छन् ।
हरेक भेटमा ओलीले बेरीलाई संसद्बाट एमसीसी सम्झौता छिट्टै अनुमोदन हुनेमा विश्वस्त पार्दै आइरहेका छन् ।
संसद्मा नौ महिनाअघि दर्ता भएको एमसीसी सम्झौता अनुमोदन गर्न भने सरकारलाई सहज छैन । ओलीको दल नेकपाभित्र नै एमसीसी सम्झौतालाई लिएर पक्ष र विपक्षमा बहस हुन थालेपछि सम्झौता सदनमा अनुमोदनका लागि पेस हुन नसकेको हो । ‘संसद्मा टेबुल गरेपछि आउन सक्ने समस्याका कारण लामो समयदेखि यो सम्झौता सचिवालयबाट अघि नबढाइएको हो,’ संसद्का एक सचिवले भने ।
आफ्ना नेताहरूबाट व्यापक प्रश्न उठेकैले नेकपाले दोस्रो केन्द्रीय कमिटी बैठकबाट एमसीसी सम्झौतालाई अध्ययन गर्न पूर्वप्रधानमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदल सदस्यमध्ये परराष्ट्रमन्त्री ज्ञवाली एमसीसी सम्झौताका कट्टर समर्थक र रावल कट्टर विरोधी भनेर चिनिएका छन् ।
एमसीसी सम्झौताअनुसार नेपालले पूर्वाधार विकासका लागि करिब ५५ अर्ब रुपैयाँ अनुदान पाउनेछ । सन् २००४ मा स्थापित अमेरिकी सरकारको स्वतन्त्र निकाय एमसीसीले कठिन मापदण्ड पूरा गर्ने देशहरूलाई आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्न समय–सीमित अनुदान प्रदान गर्छ । नेपाल र अमेरिकाबीच २०७४ भदौमा उक्त अनुदान सहायतामा हस्ताक्षर भएको थियो । त्यति बेला यहाँ शेरबहादुर देउवाको नेतृत्वमा सरकार थियो ।

Page 14
समाचार

मेयरविरुद्ध बोल्दा निर्घात कुटपिट

- लक्ष्मी साह

महागढीमाई नगरपालिका–२ का एक युवकमाथि नगरप्रमुख उपेन्द्रप्रसाद यादव, उनका चालक, स्वकीय सचिव र नगर प्रहरीले कुटपिट गरेका छन् । नगरप्रमुखको समूहले बिहीबार राति मैनी टोलका मुकेश कुशवाहालाई बरियारपुर बजारमा निर्घात कुटेका हुन् ।
गाउँमा निर्माणाधीन नाला अधुरो रहेको विषयमा यादवलाई उनले पटक–पटक ध्यानाकर्षण गराउँदै आएका थिए । यादव पक्षधरले कुशवाहालाई गाउँबाट समातेर ल्याएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनलाई तत्कालै कलैया अस्पताल पुर्‍याइएकामा त्यहाँ उपचार हुन नसकेपछि वीरगन्ज मेडिकल कलेज पुर्‍याइएको थियो । त्यहाँबाट पनि थप उपचारका लागि काठमाडौं लगिएको छ । उनको छाती, पेटलगायतमा चोट लागेको छ । मेयरको समूहले बजारमा घेरा हालेर कुशवाहालाई कुटपिट गर्दा स्थानीय प्रतिकारमा उत्रिए भने सशस्त्र प्रहरीले उनलाई अस्पताल पठाएको थियो ।
अस्पताल पठाएपछि स्थानीयले यादव पक्षधरलाई कुटपिट गरेका थिए । घटनामा यादवका चालक साहेबप्रसाद यादव, स्वकीय सचिव साजन गुप्ता र धीरेन्द्र लहेरालाई चोट लागेको छ । उनीहरूको वीरगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । नाला निर्माण पूरा गर्ने विषयमा नगरप्रमुख यादवले वास्ता नगरेपछि कुशवाहाले उनीविरुद्ध फेसबुक स्टाटस लेखेपछि यादव रिसाएका हुन् । यादवले मुकेशका बुबा महेन्द्र कुशवाहालाई नगर प्रहरी खटाएर समात्न लगाएका थिए । छोराको जिम्मेवारी लिन नमान्दा आफूलाई चर्पीमा थुनेको उनले बताए । आरोपको खण्डन गरेका यादवले भने, ‘कसैलाई पक्रिएको, कुटिएको वा थुनिएको छैन ।’

Page 15
खेलकुद

मैदान बाहिरको लडाइँमा सिटी

- हिमेश

इंग्लिस फुटबलमा सायद म्यानचेस्टर सिटीमाथि सहानुभूति राख्नेभन्दा त्यसका विरोधी नै धेरै छन् । धेरैअघि म्यानचेस्टर युनाइटेडका लिजेन्ड व्यवस्थापक सर एलेक्स फर्गुसन भन्थे, ‘सिटी भनेको हल्ला बढी गर्ने छिमेकी हो ।’
उनले यतिसम्म भने कि आफ्नो जीवनकालमा सिटीले सफलता चाखेको हेर्न पाइने छैन । फर्गुसनको त्यो इच्छा त पूरा भएन नै, किनभने पछिल्ला केही सिजन सिटीले एकपछि अर्को सफलता हात पारेको छ अनि राम्रो फुटबल खेलिरहेको छ ।
भनिरहनुपर्दैन, सिटी माथि उठेको हेर्न चाहनेमा फर्गुसन पर्दैनथे । अहिले पनि सिटीको प्रिमियर लिग प्रतिद्वन्द्वी क्लब र त्यसका व्यवस्थापक खुसुखुसु सिटीले अबका दुई सिजन युरोपमा खेल्न नपाउने भएपछि आफूलाई कस्तो फाइदा हुन्छ भनेर हिसाब गरिरहेका छन् । त्यसमा युनाइटेड पर्छ नै । सँगै यो हिसाबको जोडघटाउमा संलग्न छन्, चेल्सी, टोटेनहम र आर्सनल जस्ता परम्परागत शक्तिदेखि सेफिल्ड युनाइटेडसम्म । सिटीको अनुपस्थितिमा लिगको पाँचौंमा आउनेको पनि भाग्य खुल्नेछ ।
सबैको एउटै लक्ष्य छ, कम्तीमा सिटीले खेल्न नपाउने भएपछि सिर्जना भएको स्थितिको फाइदा लिने । फेरि यसमा अन्यथा लिनुपर्ने नै के छ र ? बेलायती मिडिया पनि किन हो, सिटीमाथि सहानुभूति राख्न चाहँदैन । फर्गुसन जस्तै यी मिडिया पनि सिटीकै विरोधमा छन् । त्यसैले त गार्डियनदेखि डेलीमेल अनि मिररदेखि सन सबैले सिटीलाई उडाउने काम गरिरहेका छन् । सबैको आशय छ, सिटीमा खाडीतिरको लगानी नआएको भए पनि स्थितिमा खासै ठूलो फरक पर्ने थिएन । यसले क्लबको लोकप्रियता वा विरोधमा कुनै फरक पर्दैनथ्यो ।
सिटीले पछिल्लो समय जति पनि सफलता पाएको छ, त्यो सबै अप्राकृतिक छ । अझ भनौं, यो सबै खाडीतिरको लगानीले मात्र सम्भव भएको हो । नत्र, सिटीसँग न इतिहास छ न गर्विलो संस्कृति नै । अहिले त सिटी भनेको सफलता उत्पादन गर्ने कारखाना भएको छ, जसमा ज्यान छैन । सिटीले जति पनि सफलता हात पारेको छ, त्यो त क्षणिक हो वा सबै पैसाले मात्र सम्भव भएको हो । युरोपेली फुटबल महासंघ (यूईएफए) ले सिटीमाथि दुईवर्ष युरोपमा खेल्न नपाउने गरेर लगाएको प्रतिबन्ध पनि ठीक नै हो भनेर पनि यी मिडियाले लेखिरहेका छन् ।
वास्तवमै अधिकांश बेलायती मिडिया किन सिटी विरोधी भए । बुझिनसक्नु छ । प्रिमियर लिगमा भर्खरै सिटीले वेस्ट ह्यामलाई हरायो, इतिहादमा भएको खेलमा । यति महत्त्व र संगीन मोडमा भएको खेलमा पनि इतिहाद स्टेडियम भने खाली–खाली थियो । तिनै बेलायती मिडियाले भने पनि सिटीको समर्थनको धरातल कमजोर छ भन्ने त देखियो नै । जति त्यस दिनको खेलमा इतिहाद पुगे, धेरैले भने यूईएफएमाथि रिस नै पोखे । अझ केही समर्थकले त सिटीमाथि षडयन्त्र भएको माने । तिनीहरूको तर्क हो, यूईएफएलाई सिटीको सफलता देखिनसक्नु हुन्छ । अबुधाबी युनाइटेड ग्रुपका रूपमा यूएईको लगानी र त्यसले दिएको सफलता हेर्न नसकेर नै यूईएफएले सिटीलाई कारबाही गर्न खोजेको आरोप ती समर्थकको छ । सिटीका विरोधी इंग्ल्यान्डमै मात्र छैनन्, पूरा युरोपमा छ । तिनीहरू पनि चाहन्छन्, सिटीलाई रोक्नैपर्छ । त्यसैले त बार्सिलोनाले खुलेर सिटीमाथि लागेको दुईवर्ष प्रतिबन्धको समर्थन नै गर्‍यो । अरु ठूला क्लबको मनसाय पनि यस्तै यस्तै होला ।
वेस्ट ह्यामविरुद्धको खेलपछि सिटीको औपचारिक धारणा भने बाहिर आएको छ र यसले तय गरेको छ । अब खेल मैदानभित्र हुनेछैन, मैदानबाहिर हुनेछ । यूईएफएले सिटीलाई दुईवर्ष युरोपमा खेल्न नपाउने गरेर प्रतिबन्ध लगाउनु पछाडिको स्पष्ट कारण हो, आर्थिक आचारसंहिता उल्लंघन गर्नु । सामान्य बोलीको भाषामा भन्दा सिटीमा यसरी पैसा खन्याइएको छ कि त्यसको सही हिसाबकिताब छैन । यस्तो काम रोकिएन भने युरोपेली क्लब फुटबलको समीकरण सधैंका लागि बिग्रिने छ ।
अनि त्यसको पनि अर्थ हो, यस्तै क्रम जारी रहे, त्यही क्लब मात्र सफल हुनेछ, जोसँग पैसा छ । त्यसमाथि यसरी मनपरी खोलो बगे जस्तै पैसा पनि बगाउन सक्ने भनेका त खाडीकै केही देश न हुन् । सिटीका समर्थकले भने यसको विरोधमा गज्जबको तर्क प्रस्तुत गरेका छन् । तिनीहरूको तर्क हो, यस्तो काम सक्नेले त गर्ने हो, नसक्नेले चुप लाग्ने हो । केही समयअघि यस्तै काम चेल्सीमा भएको थियो । तर रिस भने खाली सिटीमै मात्र किन ?
लिगको त्यो पछिल्लो खेलपछि सिटीका सीईओ फेरानो सोरिनोको भनाइ अगाडि आएको हो । उनको पूरा अन्तर्वार्ता क्लबको वेबसाइटमा राखिएको छ । त्यसमा उनले भनेका छन्, यूईएफएले क्लबमाथि ठू–ठूला आरोप त लगाएको छ र त्यसमा कुनै सत्यता भने छैन । उनले भने औपचारिक रूपमा घोषणा गरेका छन्, सिटी कोर्ट अफ आर्बिटेसन अफ स्पोर्टस (कास) मा जानेछ । उनलाई के पनि पूरा विश्वास छ भने यही कासले सिटीलाई निर्दोष पनि साबित गर्नेछ ।
सोरिनोले सिटीसमर्थक इंगित गर्दै भनेका छन्, ‘हाम्रा समर्थक दुई तथ्यमा ढुक्क भए हुन्छ । पहिलो त हामीमाथि जति पनि आरोप लागेका छन्, त्यसमा कुनै सत्यता छैन । दोस्रो तथ्य के भने क्लबले आफूलाई निर्दोष साबित गर्न कुनै कसर छोड्ने छैन । हाम्रा सबै समर्थक हाम्रै पक्षमा छन् भनेर पनि हामी निश्चिन्त छौं । हामीले यो महसुस पनि गरिरहेका छौं । हाम्रासामु जति चुनौती तेर्सिएको छ, हामीले त्यसलाई एक ढिक्का भएर सामना गर्नेछौं ।’
दुईवर्षको प्रतिबन्धपछि सबैभन्दा ठूलो प्रश्न व्यवस्थापक पेप ग्वार्डिओलाको भविष्यसँग जोडिएको छ । धेरैको अनुमान छ, अब ग्वार्डिओला सिटीमा बस्ने छैनन् । तर उनी आफैंले भने स्थिति जस्तै तयार भए पनि अर्को सिजन सिटीमै रहनेछन् । त्यो पनि शतप्रतिशत । अझ उनलाई त आफ्नो पुरानो क्लब बार्सिलोनामाथि पनि रिस उठेको छ । उनले पनि बुझ्न सकेका छैनन्, बार्सिलोना आफैं समस्या छ, किन उसलाई फेरि अर्को क्लबको समस्यामा टाउको दुखाउनुपर्ने भनेर ?
मूल प्रश्न भने त्यो होइन । बरु के हो भने अबका केही दिनमा सिटीलाई लिएर के हुने हो त ? कतै सिटीले यसअघि जितेका केही उपाधि खोसिने त होइन ? अनि जति बेला उसले गलत गरेको आरोप लागेको समय छ, त्यति बेला किनेका सबै खेलाडी बेच्नु पो पर्ने हो कि ? वा यूईएफएको कारबाहीमा समर्थन गर्दै प्रिमियर लिग आयोजकले सिटीलाई थप कारबाही गर्दै घटुवा गरेर तेस्रो डिभिजनमा झारिने त होइन ? त्यो भनेको डिभिजन वानतिर ।
यी सबैको उत्तर अबका केही दिनमा पक्कै पाइनेछ । सिटी पनि चाहन्छ, आफू कासमा गएपछि आफ्नोमाथि लागेको आरोपमा निर्णय आओस् । निर्णय आउन ढिला भए, जति बेलासम्म निर्णय आउने छैन त्यति बेलासम्म आफ्नो अर्को सिजन च्याम्पियन्स लिग खेल्ने अधिकार कायम होस् । स्पष्ट छ, अबका केही दिन क्लबका लागि निकै महत्त्वपूर्ण हुनेछ । तर फेरि तिनै बेलायती मिडियालाई विश्वास गर्ने हो भने मैदान बाहिर खेलिने अबको खेल सिटीका लागि सजिलो पक्कै हुने छैन ।

खेलकुद

रितिकले जिते उपाधि

छोटकरी
- कान्तिपुर संवाददाता

रूपन्देही (कास)– बुटवलमा तेस्रो खुला लन टेनिस प्रतियोगिताको उपाधि स्थानीय खेलाडी रितिक रानाले जितेका छन् । शुक्रबार फाइनलमा मेन्स सिंगलको प्रणव खनाललाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । उपाधिसँगै उनी ५५ हजारबाट रुपैयाँ पुरस्कृत भए । उपविजेता प्रणवले २५ हजार रुपैयाँ पाए । प्रणव यसअघिका दुवै संस्करण विजेता हुन् । ३५ वर्षमाथिको उपाधि कमल भण्डारीले जिते । उनले फाइनलमा राजु श्रेष्ठलाई ६–१, ६–१ को सेटमा पन्छाए । ४५ वर्ष माथिको उमेर समूहमा चन्द्र शाही च्याम्पियन भए । उनले फाइनलमा विमल गुरुङलाई ६–४, ६–४ को सोझो सेटमा हराए ।
विजेतालाई पुरस्कृत गर्दै बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले टेनिस विकास र प्रवर्द्धनमा सहयोग गर्ने बताए ।

खेलकुद

हिमालयन शेर्पा फाइनलमा

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– हिमालयन शेर्पा क्लब तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार सेमिफाइनलमा च्यासल युथ क्लबलाई २–१ ले पराजित गर्दै हिमालयन उपाधितर्फ नजिकिएको हो । पूर्वी मकवानपुरको वाग्मती गाउँपालिकास्थित जनता माविको मैदानमा हिमालयन शेर्पाको जितमा विजय श्रेष्ठले दुई गोल गरे । हिमालयनले पेनाल्टी गोलबाट अग्रता लिएको थियो । सातौं मिनेटमा च्यासलका डिफेन्डरको ह्यान्ड भएसँगै प्राप्त पेनाल्टीमा विजयले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा च्यासलका विदेशी खेलाडी काजिम भुसाराले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवैले केही सुन्दर अवसर पाए पनि गोलका लागि ३० मिनेटको समय कुर्नुपरेको थियो । शेर्पाको तर्फबाट ७५ औं मिनेटमा विजयले बक्सभित्र सुरज हमालले उपलब्ध गराएको पासमा गोल गरे । उनी म्यान अफ द म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पाए । शनिबार जावलाखेल र संकटाबीच प्रतिस्पर्धा हुनेछ ।

खेलकुद

राइनोमा पुलिस विजयी

- कान्तिपुर संवाददाता

नवलपरासी (कास)– नेपाल पुलिस क्लबले शुक्रबार राइनो संरक्षण गोल्डकप फुटबलमा एफसी विजय युथ हेटौंडालाई ३–१ ले पराजित गरेको छ । कोल्हुवामा नीरकुमार राई र रवि पासवानको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीबाट विजय युथले एक गोल फर्कायो । विदेशी खेलाडी हजमेटले गोल गरे । मध्यान्तरसम्म पुलिसले २–१ ले अगाडि रह्यो । दोस्रो हाफमा बुद्धिलाल तामाङले एक गोल थपेका थिए । शनिबार हिमालयन शेर्पाले इन्द्रेणी विकास खेल्नेछ ।

Page 16
खेलकुद

रंगभेद, फिक्सिङ र अमान्य गोल

घरेलु फुटबलको सबैभन्दा प्रतिष्ठित ‘ए’ डिभिजन लिगमा यसपालि मैदान बाहिर र भित्रका केही घटना यस्ता रहे
- राजु घिसिङ

नयाँ च्याम्पियनको रूपमा मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को उपाधि जितेको ठीक एक साता भयो । सहभागी १४ क्लबले मंसिर २८ देखि फागुन ३ सम्म दशरथ रंगशाला र एन्फा कम्प्लेक्स, सातदोबाटोमा ९१ खेल खेले । घरेलु फुटबलको सबैभन्दा प्रतिष्ठित मानिने प्रतियोगिता ‘ए डिभिजन लिग’ मा यसपालि मैदानबाहिर र भित्रका चर्चित ७ घटनाक्रम :

खुलमखुला फिक्सिङ ?
२०७५ सालको उपाधि होडको प्रतिस्पर्धा चर्किंदै गएको बेला मनाङका प्रशिक्षक सुमन श्रेष्ठले पत्रकार सम्मेलनमै प्रतिद्वन्द्वीमाथि मिलेमतोको आरोप लगाएका थिए । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले कारबाही गर्नुको सट्टा प्रदेश प्रशिक्षकको पुरस्कार दिएको थियो । त्यसैले हुनसक्छ, यसपालिको लिगमा पनि प्रशिक्षक र अफिसियलहरू खुला रूपमै ‘फिक्सिङ’ को आरोप–प्रत्यारोपमा ओर्लिए ।
विभागीय टिम एपीएफ र सरस्वती युवा क्लब रेलिगेसनबाट कसरी जोगिने भन्ने दबाबमा थिए । ठीक यही बेला मैदानबाहिर चलखेल सुरु भयो । सरस्वतीले नवौं खेलमा आएर हिमालयन शेर्पालाई ४–३ ले हरायो । त्यसअघिका ८ खेलमा २ गोलमात्रै गरेको सरस्वतीको यो लिगमा त्यो नै पहिलो र एकमात्र जित रह्यो । एन्फा कम्प्लेक्सको खेल उस्तै नाटकीय थियो । पहिलो हाफमा ४ गोल भयो । अन्त्यतिर १० मिनेटभित्र ३ गोल थपियो । उक्त खेलमा हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीलाई मिलेमतोको प्रस्ताव गरेको आरोपमा सरस्वतीका कप्तान दीपेश श्रेष्ठलाई इन्ट्रिग्रिटी अफिसर सुदीप आचार्यको रिपोर्टको आधारमा निलम्बन गरिएको थियो । हिमालयन शेर्पाका व्यवस्थापक बिजेन्द्र पुडासैनीलाई पनि निलम्बन गरियो । त्यो जितले पनि सरस्वतीलाई ए डिभिजनमा टिकाउन सकेन । एपीएफले १२ औं खेलमा फ्रेन्ड्सलाई ५–२ ले पराजित गरेपछि मात्रै शीर्ष श्रेणीमै रहने पक्का गरेको थियो । त्यो उसको दोस्रो जित थियो र एन्फा कम्प्लेक्समा ५८० दर्शकबीच भएको उक्त खेलमाथि पनि थुप्रै प्रश्न तेर्सियो । दोस्रो हाफमा ५ गोल भएको उक्त खेलको अन्तिम २ मिनेटमा एपीएफले २ गोल गरेको थियो । हुन त सशस्त्र प्रहरी बलको एपीएफ क्लबले २०६६–६७ को लिगमा रेलिगेसन टार्न संघर्ष गरिरहेको बेला मछिन्द्रमाथि हात पारेको ८–० को जितले नेपाली फुटबलमा ठूलै सनसनी फैलाएको थियो ।
यसपालि प्रशिक्षक र पदाधिकारीहरूले फिक्सिङबारे खुलेरै प्रश्न उठाए । आरोप लगाए । सरस्वतीका प्रशिक्षक प्रदीप नेपाल, अध्यक्ष शिक्षित पराजुली, एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले एकअर्काको नतिजामाथि शंका गर्दै फिक्सिङको आरोप लगाएका थिए । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका प्रियपात्र पराजुली एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष पनि हुन् । फ्रेन्ड्सका अफिसियल अनुप कार्कीले रेफ्रीमाथि मिलेमतो गराएर खेलाएको दाबी गरे पत्रकार सम्मेलनमै । खुलेरै सार्वजनिक रूपमा आरोप–प्रत्यारोप लगाइरहे पनि एन्फा लाचार रह्यो । उसले न गम्भीर अनुसन्धान नै गर्‍यो, न त आरोप लगाउनेमाथि कारबाही गर्ने हिम्मत नै ।

जाली च्यातिँदा गोल अमान्य
दशरथ रंगशालामा मनाङ मर्स्याङदी र सरस्वतीको खेल भइरहेको थियो । मनाङले आक्रामक खेलिरहेको थियो । उसका फरवार्ड निशान लिम्बुले १५ औं मिनेटमा कठिन कोणबाट बल प्रहार गरे । फस्ट बारबाटै बले जालीको सम्पर्कमा पुग्यो । बल पोस्टभित्र छिरेपछि जालीबाहिरबाट ट्र्याकतिर निस्कियो । कारण जाली च्यातिएको रहेछ । च्यातिएको जालीबाट बल निस्किएकाले नै हुनसक्छ, रेफ्री श्याम दनुवारले निशानको ‘गोल’ लाई मान्यता दिएनन् । खेलाडी र अफिसियलले गोल भएको दाबी गरे पनि दनुवारले अस्वीकार गरिदिए । त्यसैले निशानले पहिलो गोलका लागि संकटाविरुद्धको खेल नै कुर्नुपर्‍यो । आठौं चरणको उक्त खेलको म्याच कमिस्नर थिए एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह । रेफ्री एसेसर श्याम लामा । सहायक रेफ्रीहरू नानीराम थापामगर र गणेश चौधरी । खेल भने विमल रानाको ४६ औं मिनेटको गोलसँगै मनाङले नै जितेको थियो ।

१२ खेलाडी
एन्फा कम्प्लेक्समा हिमालयन शेर्पाविरुद्ध आर्मीको खेल भइरहेको थियो । दोस्रो हाफको सुरुमै हिमालयन शेर्पाले मिडफिल्डर विनोद गुरुङ परिवर्तन गर्दै भिसोन गुरुङलाई पठाउने तयारी गर्‍यो । फोर्थ अफिसियलले नियमित ‘चेक’ गरेर भिसोनलाई मैदानमा पठाइदिए । जबकि विनोदले मैदानमै खेलिरहेका थिए । यी दुवै खेलाडी करिब १ मिनेट एकसाथ खेलिरहे, जति बेला मैदानमा हिमालयन शेर्पाको खेलाडीसंख्या १२ पुगेको थियो ।
‘विनोद निकालेर भिसोन मैदान छिराउन भनेको थिएँ, तर फोर्थ अफिसियलले ढिला भयो भनेर भिसोनलाई पठाइहालेछन्, उनी पनि छिरेर खेलिहाले,’ त्यो क्षण सम्झिँदै हिमालयन शेर्पाका प्रशिक्षक सन्जीव बुढाथोकीले भने । ११–११ खेलाडीले प्रतिस्पर्धा गर्ने फुटबलमा एउटै टिमले १२ खेलाडी उतारेको दुर्लभ क्षण थियो त्यो । तेस्रो चरणको उक्त खेल आर्मीले २–० ले जितेको थियो ।

बलबिनाको खेल
पाँचौं चरणमा मछिन्द्र र मनाङले २–२ खेल्दै अंक बाँडेका थिए । तर, त्यो नतिजाभन्दा बढी चर्चा भयो बलबिनाको खेलबारे । खेल सकिएलगत्तै मनाङका जगजित श्रेष्ठले मछिन्द्रका फरवार्ड दीपक राईलाई कुहिनाले प्रहार गरेपछि उपाधि होडका टिमहरूबीच दशरथ रंगशालामा तनाव सुरु भएको थियो ।
रेफ्री श्रवण लामाले मनाङका दोस्रो रोजाइका गोलकिपर अशोक बराललाई रातो कार्ड देखाए । एन्फाले उनलाई ६ खेलमा निलम्बन र १० हजार रुपैयाँ जरिवाना गर्‍यो । मनाङकै जगजितलाई ५ खेल निलम्बन र १० हजार जरिवाना तथा रन्जन विष्टलाई २ खेल निलम्बन गरियो । मनाङका किट्स म्यानेजर शिव लामा लिगका सबै खेलमा निलम्बित भए भने १० हजार जरिवानामा पनि परे । झट्का मछिन्द्रलाई पनि पर्‍यो । उसका डिफेन्डर देवेन्द्र तामाङ, दीपक र विजय धिमाल २–२ खेल निलम्बनमा परे । त्यो घटनाले दुवै टिमलाई समस्यामा पारेको थियो ।

अफ्रिकीमाथि रंगभेद !
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा २०६० को दशकयता ‘गेम चेन्जर’ को काम गरिरहेका छन् अफ्रिकी खेलाडीहरूले । एक टिमबाट एउटै खेलमा तीन विदेशी मैदानमा ओर्लन पाउँछन् र यस्तो कोटामा अफ्रिकीकै वर्चस्व रहँदै आएको छ । तीन विभागीय टिमहरू आर्मी, पुलिस र एपीएफमा भने विदेशी खेलाडी राख्ने चलन छैन ।
नवौं चरणमा आर्मीले कप्तान भरत खवासको गोलमा जावलाखेल युवा क्लबलाई १–० ले हरायो । तर, एन्फा कम्प्लेक्समा भरत त्यो गोलका लागि भन्दा पनि अर्कै विषयले चर्चामा आए । उनीमाथि जावलाखेलका फरवार्ड ड्याडी जुनियर वाम्बाले रंगभेदी व्यवहार गरेको आरोप लगाए । पहिलो हाफको इन्ज्युरी समयमा जावलाखेलले फ्रि–किक पाएको थियो र त्यो ‘डेड बल’ प्रहार गर्ने क्रममा रहेका आफ्नै साथीलाई रोक्दै वाम्बाले बल समाते अनि उनले आफूलाई भरतले ‘मंकी’ (बाँदर) भनेको भन्दै रेफ्री कविन व्यन्जनकारलाई सुनाए । रेफ्रीले खेलमा खासै वास्ता गरेनन्, खेल सुचारु गर्न लगाए ।
फ्रि–किक हान्न लागेको अवस्थामा बल समात्ने खेलाडीलाई कार्ड दिने नियम छ तर व्यन्जनकारले न त वाम्बालाई कार्ड दिए न त उनको आरोप सुनुवाई नै गरे । क्यामरुनबाट लिग खेल्न आएका वाम्बाले ‘प्लेयर बक्स’ मै पुगेर पनि प्रशिक्षक र अफिसियललाई भरतले दुईपल्ट बाँदर भनेको भन्दै खेल्न नचाहेको बताएका थिए । पछि साथीहरूले सम्झाइबुझाइ गरेपछि मात्रै उनी खेललाई निरन्तरता दिन तयार भएका थिए । लिगका निर्देशक सन्जीव मिश्रले नेपाली फुटबलमा पहिलोपल्ट लागेको रंगभेदको आरोपबारे अनुसन्धान गर्ने बताए तर उनको बोली बोलीमै सीमित बन्यो । विश्व फुटबलमा रंगेभद र फिक्सिङको आरोपलाई गम्भीर रूपमा लिइन्छ । आरोप प्रमाणित भए लामो अवधिको निलम्बन वा त्यस्तै ठूलो कारबाही गरिन्छ ।

सन्तोषको सय गोल
च्यासलका फरवार्ड सन्तोष साहुखल ‘ए’ डिभिजन लिगको आधुनिक युगमा (२०४६ सालयता) १०० गोल गर्ने पहिलो खेलाडी भए । उनले १८ औं मिनेटमा गोल गर्दै पुलिसविरुद्ध १–१ को बराबरी गरेका थिए र त्यो नै सन्तोषको ‘ए’ डिभिजन लिग करिअरको १ सय गोल बन्यो । अघिल्लो दुई खेलमा गोल गर्न चुकेका
च्यासलका यी कप्तानले पुलिसविरुद्ध २ गोल गरेपनि पाँचौं चरणको खेल २–२ मा सकिएको थियो ।
३३ वर्षीय सन्तोषले २०६० सालमा थ्रीस्टारबाट करिअर थालेका थिए र ए डिभिजन लिगको ४२ औं संस्करणमा आएर १ सय गोलको कोसेढुंगा पार गरेका हुन् । उनले यो लिगमा ७ गोल गरे । यससँगै नेपालको शीर्ष डिभिजनको लिगमा उनको गोलसंख्या १०७ पुगेको छ । उनी चार वर्षयता जापानमै बस्छन् र लिग खेल्नमात्रै स्वदेश फर्कने गर्छन् ।
आर्मीका कप्तान भरत खवासले पनि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ५० गोल यसैपालि पूरा गरे । उनले १२ चरणमा ब्रिगेड ब्वाइजविरुद्ध ३–० को जितमा पाँचौं मिनेटमा बललाई पोस्टको दिशा दिँदै लिगमा आफ्नो करिअरको ५० औं गोल गरेका थिए । यो सिजन ४ गोल गर्दै लिगकै उत्कृष्ट फरवार्डको अवार्ड जितेका उनी ‘ए’ डिभिजन लिगमा २०४६ सालयता ५० गोल पूरा गर्ने आठौं खोडी हुन् । अब उनले १ सय गोल गर्ने लक्ष्य राखेका छन् ।

 

ह्याट्रिक हिरो
थ्रीस्टारका फरवार्ड सन्जोक राई (तस्बिरमा) ले दसौं चरणमा सरस्वतीविरुद्ध ४–० को जितमा ह्याट्रिक गरे । २०७५ को लिगमा कसैले एउटै खेलमा ३ गोल गरेका थिएनन्, त्यसैले उनी २०७० को लिगपछि ए डिभिजनमा पहिलो ह्याट्रिककर्ता बने । उनले दोस्रो हाफमा १४ मिनेटभित्र ३ गोल गरेका थिए । अन्तिम चरणमा पुलिसका जुमनु राईले पनि फ्रेन्ड्सविरुद्ध ३–० को जितमा ह्याट्रिक गरे ।
लिग च्याम्पियन मछिन्द्रका फरवार्ड दीपक राई, विंगर सुजल श्रेष्ठ, मिडफिल्डर विशाल राई (बी) र गोलकिपर विशाल श्रेष्ठ पनि यसैपालि ह्याट्रिकर्ता भए । उनीहरूको ह्याट्रिक गोलमा होइन, देशकै प्रतिष्ठित लिगको उपाधिमा हो । यी चारै खेलाडीले २०७० र २०७५ सालमा मनाङबाट ‘ए’ डिभिजन लिगको उपाधि जितेका थिए । यसपाली मछिन्द्रको ऐतिहासिक उपलब्धिसँगै उनीहरूले सहिद स्मारक ए डिभिजन लिगको ट्रफी चुमेका हुन् । विशाल राईले लिगकै उत्कृष्ट मिडफिल्डरको अवार्ड पनि जिते ।
सुजल र दुई विशाल एन्फा एकेडेमीको एउटै ब्याचका खेलाडी हुन् । पथरी, मोरङका दीपक पूर्वको प्रतियोगिताबाट उदाएका फरवार्ड हुन् । सुजल र विशाल राई पनि पूर्वकै हुन् भने गोलकिपर विशाल सिन्धुपाल्चोकका । यी चारै खेलाडी गत कार्तिकमामात्रै मनाङ मर्स्याङदी छाड्दै मछिन्द्रका पुगेका हुन् । मछिन्द्रलाई १६ औं लिग च्याम्पियन क्लब बनाउन उनीहरूको प्रदर्शन महत्त्वपूर्ण रह्यो ।

खेलकुद

आर्मीलाई मछिन्द्रको झट्का

- अर्जुन राजवंशी

तेस्रो सताक्षी गोल्डकपमा शुक्रबार मछिन्द्रविरुद्ध बल बढाउादै आर्मीका टेकबहादुर बुढाथोकी (बायाँ) । तस्बिर :अर्जुन/कान्तिपुर 

विभागीय टोली त्रिभुवन आर्मी क्लब लिग च्याम्पियन मछिन्द्र क्लबसँग एक सातामै लगातार दोस्रो पटक पराजित भएको छ । मछिन्द्रले शुक्रबार झापाको झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकप फुटबलको सेमिफाइनलमा आर्मीमाथि २–० को जित हासिल गर्‍यो । अघिल्लो साता आर्मीलाई हराएर राजधानीमा मछिन्द्रले ‘ए’ डिभिजन लिग जितेको थियो ।
सताक्षी गोल्डकपको फाइनलमा थ्रीस्टार र मछिन्द्र भिड्ने भएका छन् । फाइनल आइतबार हुनेछ । शिवसताक्षी नगरपालिका–११ स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा शुक्रबार मछिन्द्रले रेजिन सुब्बाको गोलबाट अग्रता बनायो । एक गोल भने आर्मीबाटै उपहार मिलेको थियो । २१ औं मिनेटमा आर्मीका गोलकिपर विवश चौधरी बिट भएको अवस्थामा रेजिनले आकर्षक गोल गरेका थिए । ७४ औं मिनेटमा आर्मीका विकास खवासले आत्मघाती गोल पुगे । विशाल राई ‘बी’ को प्रहार आर्मीका गोलकिपर विवशको खुट्टामा लागेर फर्कियो । त्यसलाई विकासले क्लियर गर्न खोज्दा आफ्नै पोस्ट गोल भएको थियो ।
आर्मीले खेलको पहिलो मिनेटमै आक्रमण बुनेको थियो । कप्तान जर्जप्रिन्स कार्कीको कडा प्रहार पोस्ट माथिबाट बाहिरियो । छैटौं मिनेटमा मछिन्द्रका विमल घर्तीमगरले २५ यार्ड टाढाबाट गरेको प्रहार आर्मीका किपरले पन्च गरेर बचाए । २४ औं मिनेटमा मछिन्द्रका एडेलाजा सोमिडेले आर्मीका चार डिफेन्डरबाट छक्याएर गरेको प्रहार विवशले कठिनसँग जोगाए ।
खेलमा मछिन्द्रका गोलकर्ता रेजिन सुब्बा म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

खेलाडी सम्मानित
सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रका सात खेलाडी र प्रशिक्षक पुरस्कृत भए । झापा गोल्डकप आयोजक समितिले मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल र खेलाडीहरू कप्तान विराज महर्जन, विशाल राई ‘ए’, विशाल राई ‘बी’, देवेन्द्र तामाङ, योगेश गुरुङ, रेजिन सुब्बा र विमन राईलाई नगदसहित पुरस्कृत गर्‍यो । समितिले प्रशिक्षक कटुवाललाई २५ हजार र खेलाडीलाई जनही १५ हजार प्रदान गर्‍यो । कप्तान विराजबाहेक प्रशिक्षक र पुरस्कृत ६ खेलाडी झापा ११ का पूर्व खेलाडी हुन् । क्लबका खेलाडीले मछिन्द्रबाट लिग खेलेर विजेता हुन सफल भएकामा सम्मान गरिएको अध्यक्ष महेन्द्र गिरीले बताए ।

खेलकुद

कञ्चनजंघा क्वाटरफाइनलमा

छोटकरी
- कान्तिपुर संवाददाता

धनगढी (कास)– कञ्चनजंघा फुटबल क्लबको जितसँगै शुक्रबार चौथो सुदूरपश्चिम आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा सुदूरपश्चिमको एकमात्र खप्तड गोल्डकप धनगढी रंगशालामा सुरु भएको हो । उद्घाटन खेलमा भारतको कञ्चनजंघा एफसीले वाग्मती युवा क्लब सिरहालाई टाइब्रेकरमा ४–२ ले हराएर क्वाटरफाइनल तय गरेको छ । निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । कञ्चनजंघाको जितमा गोलरक्षक निगम सिंह नायक बने । उनले वाग्मतीका विपिन मगर र अनिल मगरको प्रहार रोके । खेलमा कञ्चनजंघाका निगम सिंह ‘दिनेश सोप म्यान अफ द म्याच’ भए । उनले १० हजार पाए । कञ्चनजंघाले अब आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार एपीएफ र एनआरटीबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जनाए ।

खेलकुद

नेक्ससको अग्रता

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– यू–१९ स्तरको दुई दिवसीय हिमालय क्रिकेट लिगमा नेक्सस क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीविरुद्ध ३४ रनको अग्रता बनाएको छ । एकै दिन २० विकेट झरेको खेलमा बलरको प्रदर्शन प्रभावशाली रह्यो । टस जितेर ब्याटिङ गरेको नेक्सस ४४.४ ओभरमा १ सय ३४ रनमै अलआउट भयो । सन्दीप खड्काले ५ विकेट लिएपछि नेक्ससको इनिङ्स कमजोर बनेको हो । हिमालयनका सन्दीपले ४३ रन खर्चिए । ४० रन खर्चेका प्रकाश कार्कीले ३ विकेट झारे । नेक्ससका आकाश चन्दले सर्वाधिक २१, ओपनर तथा कप्तान विपिनविक्रम शाही १९, प्रियांशु श्रेष्ठ १५ रनमा आउट भए । सनोज केसीले अविजित ५० रन जोडे । पहिलो इनिङ्सको ब्याटिङमा हिमालयनको झनै कमजोर देखियो । २८.३ ओभरमा १ सय १७ रनमै समेट्न नेक्ससका नरेन साउद एक्लैले ७ विकेट लिए । उनले ११ ओभरमा ३ मेडनसहित ४७ रन खर्चिए । कृश कार्कीले २ र आकाश चन्दले १ विकेट लिए । १७ रनको अग्रतासहित दोस्रो इनिङ्स खेलेको नेक्ससले खेल रोकिनुअघि बिनाक्षति २१ रन बनायो ।

खेलकुद

टेनिस टोली जकार्तातिर

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– आईटीएफ जुनियर डेभिस कप तथा फेड कपमा भाग लिन ६ सदस्यीय नेपाली टेनिस टोली शुक्रबार इन्डोनेसियाको जकार्ता गएको छ । खेलाडीमा निहालजंग थापा, प्रसिद्ध मोक्तान, निश्चल कायस्थ, रायना शाह, इशाश्री शाह र सिरिस्ता राई छन् । प्रतियोगिता फेब्रुअरी २२ देखि २९ सम्म हुनेछ ।

Page 17
कोसेली

कुन कुनामा थन्क्याऊँ सम्झना ?

- शैलेन्द्र साकार

१२ वर्षपहिले अमेरिकाबाट फर्कने बेला मैले एउटा गीत लेखेको थिएँ । छिन्नलता पुरस्कार गुठीमा विगत ३० वर्षभन्दा पहिलेदेखि नै कार्यसमितिमा कैयौंपल्ट निर्णायक भएर बस्ने अवसर मिले पनि गीत रचनामा मेरो त्यति रुचि रहेन । गीतकार किरण खरेल र राजेन्द्र थापाका गीतहरू मन पर्थे, रुचाउँथें त्यति हो । नगेन्द्र थापाको ‘मेरो गीत कसैले सुने भने, यहाँको चुपचापले सुनोस्’ भन्नेजस्ता गहिरा कवितात्मक संवेदनशीलता मन पर्थ्यो र त्यस्तै लेख्न सके लेखुँला भन्ने थियो तर कहिल्यै गम्भीरतापूर्वक सोचेको थिइनँ । अमेरिकामै पढेर कम्प्युटर सूचना प्रविधिमा मास्टर्स गर्दा नेपालीतर्फको प्रथम भएर मेरो जेठो छोरा अनुरक्त प्रधान श्रेष्ठ ओमाहा, नेव्रास्कामै राम्रो काम गर्दै थियो त्यसबेला । आफ्नै गाडी र घर हुनु कुनै ठूलो कुरा थिएन । तर, स्थायी जागिरसहित राम्रो आम्दानी गरेको र नियमित कर तिरेको प्रमाणपत्र चाहिन्छ नै, त्यति जोर्न पनि । उसैले कर गरेर मैले त्यहाँ बसुन्जेल १० वटा जति गीत पनि लेखें । ती आज छैनन् र मलाई कुनै गीत कण्ठ आउँदैन पनि । गीत सम्झनुको एउटा सानो कारण छ ।
मेरी नातिनीहरू जन्मले नै अमेरिकाको नागरिक भएकाले छोरा र उनीहरूलाई लक्षित गर्दै त्यसबेला एउटा गीत लेखेर त्यहीँ छाडेर आएको थिएँ । शब्दमा लय नहाली सुन्दा गीतले बोकेको भाव यस्तो थियो, ‘म त अब आफ्नो देश जाँदै छु । र, तिमीहरू यो बिरानो देशमा छौ । जसलाई तिमीहरूले आफ्नो जन्मभूमि पनि मानेका छौ । म फर्केर आफ्नो देश गए पनि यो हावा, यो जंगल यो पार्क र यो चिसो ऋतु त सधैं तिमीहरूसँग यहीँ रहनेछ । मैले यो धर्ती नै छाडे पनि यिनीहरूले यो धर्ती कहिल्यै छाड्ने छैनन् । म रहुँला/नरहुँला यो हावा रहिरहनेछ, मैले टेकेको सुनसान बाटो रहिरहनेछ । म रहूँ/नरहूँ यो आकाश रहिरहनेछ ।’ अन्त्यमा यही गीतलाई सुन्दर लय हाल्दै, गुन्गुनाउँदै मेरो छोराले बिरानो मुलुक अमेरिकामा आत्महत्या गरेछ । आफ्नो घर र कार्यालयको बीच एउटा सानो खोला र पुरानो–पुरानो खालको ओत लाग्नेजस्तो ठाउँमा आफ्नो प्राणलाई रिभल्भरले उडाएछ । आफू चढेर आइरहेको ठूलो गाडी र मोबाइललाई अलि बाहिरै एकलासमा छाडेर उसले आफू जन्मेको देश, हुर्केको माटो, आमाबाबु र साथीभाइलाई ‘अलबिदा’ भनेछ । ‘सुसाइड नोट’ (जसलाई मैले आजसम्म पढ्न सकेको छैन) कम्प्युटरमा दिउसै पठाएर अचुक गोलीको प्रहार गरेछ कन्चटमा । सबै कुरा भेटियो यथावत् । गीत पनि भेटियो । मोटर, मोबाइल पनि । उसको शरीर पनि । खालि प्राण
भेट्टाउन सकिएन ।
सुन्दर अनुहार अलिकति पनि नबिग्रिएको, खालि बिग्रिएको थियो समय र हाम्रो सुन्दर भविष्य । हाम्रो आशा र हाम्रो सपना रित्तिएको थियो, अरू सबै थोक उस्तै थियो, त्यहाँ पनि यहाँ पनि ।
हो त्यही देश, हो त्यही प्रदेश कोलोराडो । सबैलाई भेट्न आठ वर्षपछि म फेरि त्यता लाग्दै छु । हुर्किसकेका दुई नातिनी आयुषा र एस्पेन अनि बुहारी आश्रुनाको उस्तै अनुहार सम्झँदै म त्यता लाग्दै छु । मेरो मनभित्र एउटा यस्तो आँधी चलिरहेछ, जो बाहिरबाट अदृश्य छ, मानौं कुनै नफुटेको ज्वालामुखी । बाहिरबाट झट्ट हेर्दा उस्तै छु । उसरी नै समयमा एयरपोर्ट पुगिरहेछु, समयमा ‘चेक इन’ गराउन खोजिरहेछु । सायद भित्रको समयले बाहिर पनि गडबड गरिरहेछ । पुग्नुपर्ने समयभन्दा झन्डै–झन्डै आधा घण्टा ढिलो पुगेछु एयरपोर्ट । प्लेनभित्र चढ्नुपर्‍यो, केही हेर्दै नहेरी नर्थ क्यारोलाइनाको सार्लेट एयरपोर्टबाट । सुटकेस पछि पठाइदिन्छु भन्यो म्यानेजरले । हामीले मान्यौं ।
८ वर्ष छोरा नभई दिनहरू गुज्रिरहे अमेरिका र नेपालमा । कतै डुल्न जान पनि मन नलाग्ने, बोल्दा–बोल्दै रुवाइ आउने । हाँसो नै बिर्सिएजस्तो अभिशापग्रस्त मानिसजस्तो । कि पशुजस्तो, जो कहिल्यै पनि हाँस्दैन ।
८ वर्षअघि हामी बसेको फोर्ट कलिन्सबाट डेन्भर आउन मोटरमा पनि झन्डै १ घण्टा लाग्ने । बाहिरको हुस्सु, कुहिरो र हिउँले पटक्कै घुम्न, फिर्न, नदिने । बुट लगाएर पाँच–छ इन्ची हिउँमाथि गर्‍याम–गर्‍याम हिँड्नुपर्ने । कुनै फौजी सिपाही लडाइँमा हिँडेझैं । मलाई भने त्यस्तो जाडो, हुस्सु र हिउँमा पनि बिहान एक घण्टा हिँड्नुपर्ने । अहिले सम्झँदा अब त सक्दिनँ होलाजस्तो लागिरहेछ । त्यस्तै पर्‍यो भने पछि हट्न पनि भएन । अझै सकिन्छ होला त्यस्तो गज्याङमज्याङ हिउँमा हिँड्न । तर, यसपालि भने गर्मीमा जान लागेको छु । पुरानो मृत घर फोर्टकलिन्स होइन, थोर्नटर्न । र, त्यो घर होइन, अर्कै घर । त्यो घर त बेचेर बुहारी र नातिनीहरू थोर्नटर्नमा नयाँ घर किनेर सरेछन् । पहिला पनि यस्तो बेला त्यहीँ बस्ने नीलम श्रेष्ठले सहयोग गर्थिन्, सायद अहिले पनि उनैले यो घर मिलाइदिइन् । ११ वर्ष र ५ वर्ष मात्रै पुगेका नातिनीहरूलाई छाडेर नेपाल फर्केको म फेरि उनीहरूलाई भेट्न उत्सुक र अधीर छु ।

यस्तो भयो
यहाँ सार्लेटबाट बिहान ६ बजे नै उड्ने प्लेन समातेर डेन्भर ओर्लेर त्यहाँबाट आधा घण्टा जति पर रहेको थोर्नटर्न पुग्नु छ, जहाँ आजकल उनीहरू बस्छन् । ई–टिकटमा डेन्भर पुग्ने समय लेखिएको छ ७ बजे बिहान तर प्लेनलाई समयावधि लाग्ने रहेछ साढे तीन घण्टा जेटमा । काठमाडौंबाट हङकङ गएजति । डेन्भर कोलोराडो राज्यको राजधानी हो । त्यहाँको समय यहाँ नर्थक्यारोलाइना र न्युयोर्कको भन्दा ३ घण्टा ढिलो रहेछ । यहाँको हिसाबअनुसार, त पुगिने रहेछ झन्डै बिहानको १० बजे तर लेखिएको छ ७ बजे । हुन पनि त्यो ठाउँको त ७ बजे नै पुग्ने रहेछौं हामी । एउटै देशमा राज्य हेरी विविध समयको ख्याल गर्नुपर्छ यो देशमा । नातिनीहरू बसेको घर भने डेन्भरबाट त्यति टाढा होइन । त्यहाँको डाउनटाउन पुग्न मोटरमा झन्डै १५ मिनेट मात्र लाग्ने रहेछ ।
बिहानै ६ बजे उड्ने फ्रन्टियरको जहाज समात्न अलि अप्ठ्यारै भयो हामीलाई । बिहानको ४ बजे नै उठ्ने र ब्रेकफास्ट खाएर दौडिहाल्ने भनेको, श्रीमती र छोरीको उठाइ अलि ढिलो भएकाले हस्याङफस्याङ गर्दै ढिलो भएछ सार्लेट विमानस्थल पुग्न । ग्राहकको लाइनमा बस्दाबस्दै ६ बज्न लागिसक्यो । कतिखेर पासपोर्ट, ई–टिकट देखाउनु ? सामान कतिखेर जाँच्न लगाउनु र कतिखेर जहाजभित्र बस्नु ? यस्तो सकसमा छोरीले एउटा उपाय सुझाई, ‘तपाईंहरू सीधै चेकिङमा जानुहोस् र त्यहाँबाट प्लेनभित्र छिर्ने ढोका खोजेर बसिहाल्नुहोस्, समय छैन । यो सुटकेस जँचाउने र त्यसलाई तपाईंहरूको प्लेनसम्म पुर्‍याउने जिम्मा मेरो ।’ हुन पनि हामी आफैं लागेर प्लेनभित्र ६ बजेभित्र पस्न असम्भव नै देखियो । हामी (श्रीमती र म) दौडेर भित्र लाग्यौं । तर, जहाजका कर्मचारीले सुटकेसको मालिक अगाडि नभई हामी सामान जाँच गरेर भित्र पठाउन सक्दैनौं भनेछ । प्लेन उड्ने बेला भयो भनेर घोषणा गरिसक्यो, हाम्रो सामानको अत्तोपत्तो छैन । छोरी अनुभवी भएकाले नडराई उसले जहाजको म्यानेजरसँग कुरा गरिछ र सामान १/२ दिनपछि डेन्भर पुर्‍याउने सर्तमा हामीलाई उड्न दिइएछ । कुनै पनि सामानबिना हामी दुई अरू थुप्रै यात्रीका साथ डेन्भर जान उड्यौं । बाक्लो हुस्सु छ तर डर छैन, यहाँ नजिकै कुनै ठूलो पहाड छैन । बादलमाथि पुग्यो जेट डेन्भर पुग्न । मनमा विचित्र भावनाहरूको ज्वारभाटा चल्न थाल्छ । बादलमा झ्वास्स–झ्वास्स आफ्नै मृत छोरा ङिच्च हाँसेर हामीलाई स्वागत गर्न दौडेर विमानस्थलतिर आइरहेको दृश्य झलझली आइरहन्छ । विमानस्थल आइरहने र गइरहने छोराको व्यस्त दिनचर्या सम्झेर आज पनि ऊ त्यसरी नै हस्याङफस्याङ गर्दै ठूलो र आरामदायी गाडीमा दौडिरहेको दृश्यले धेरै बेरसम्म आक्रमण गरिरहन्छ । अनि झल्यास्स ब्युँझन्छु– ए त अब ऊ छैन ! उसले त आत्महत्या गरिसक्यो भन्ने सम्झेर मन निचोरिन्छ । आँसु पनि आउन छाडिसक्यो, सुकिसक्यो रुँदारुँदै । जीवनको उत्तरार्द्धमा पर्न आएको यो भवितव्यलाई कसरी व्यवस्थित गर्दै लैजाने, केही नबुझेर ट्वाल्ल परिरहन्छु अझै । यो परदेशमा रोए पनि कसले वास्ता गर्छ र ? कसले बुझ्छ र यो पीडा ?सायद आफूलाई बचाउने एक मात्र उपाय नै कागजमा आफूलाई पोखिरहनु हो । सायद यसैले जोन एफ केनेडीले एकपल्ट भनेका थिए— सम्पूर्ण राजनीतिज्ञहरूले एक दिन कवितामा रोएर प्रायश्चित्त गर्नुपर्नेछ ।
जेट कोलोराडोको अन्तर्राष्ट्रिय विमानस्थल डेन्भरमा ओर्लन लागिसकेछ । डेन्भरमा त भर्खर बिहानको ७ बज्नै लागेछ । प्लेन, मोटर देख्दै डराउने हाम्री ठूली नातिनी आफ्नो ठूलो गाडीमा हामीलाई लिन आएकी रहिछ । नेपाली ठ्याम्मै नबुझ्ने भएकाले मलाई अलिक समय लाग्यो, हामी कुन तलामा कतापट्टि छौं भनेर उनलाई सम्झाउन । हाम्रो आश्चर्यलाई थोरै पनि महत्त्व नदिई एकदम प्रोफेसनल पाराले उसले गाडी हाँकी । २३/२४ हजार घरको बीच रहेछ, त्यो घर अहिले । यो घरमा त हामी आएकै थिएनौं । केही पनि सामान नलिई आएका छौं हामी समयमा विमानस्थल नपुगेकाले । नयाँ साबुन, पेस्ट, ब्रुस र घरमा बस्दा लाउने लुगासमेत किन्नुपर्नेछ हामीले । चियासम्म नपिई आएका छौं हामी । बुहारीकी आमा मतलब हाम्री सम्धिनी पनि यही बेला आएकी रहिछन् । हामीलाई धेरै सजिलो भयो खान बस्न । बुहारी त्यही दिन कतै हुने दौडमा भाग लिन गएकीले आउन अलि ढिलो भयो । निकै पछि आइन् हाम्रो खानपिनपछि, यही हो अमेरिकन जीवनशैली । घर पहिलाको पोर्टकलिन्सको घरभन्दा अलि सानो भए पनि निकै सफा, सुन्दर र चिटिक्क परेको । गर्मी नै रहेछ थोर्नटर्न । १०/१५ दिन मज्जैसँग नातिनीहरू र बुहारीसँग बिताउने सुर छ हाम्रो । भेटघाट गर्ने र सम्बन्धको पुनर्ताजगी गर्ने भित्री इच्छा छ हाम्रो । उनीहरूलाई नेपाल आऊ भन्ने पनि आन्तरिक इच्छा छ हाम्रो । २/४ दिनमै मनोविश्लेषणमा डाक्टर बन्न जेठी नातिनी बोल्डर विश्वविद्यालय जान लागेकी रहिछ । भेट्नै गाह्रो ।
सन् १८७७ मा खुलेको रहेछ— कोलोराडो विश्वविद्यालय । त्यहीँ बस्ने, खाने सुविधासमेत पाएर नातिनी जान लागेकी रहिछ । बिट कवि एलेन गिन्सवर्ग र एन वाल्डमेनले स्थापना गरेको ज्याक केरुक स्कुल अफ डिसइम्बोडिट पोइटिक्स एट बोल्डरस् नरोपा विश्वविद्यालयले यस वर्षको गर्मीका लागि धेरै कार्यक्रम राखेको रहेछ । कोलोराडोमा मनाइने ‘सेक्सपियर उत्सव’ त स्वाभाविकै लाग्छ तर ‘हनुमान उत्सव’ भन्ने कार्यक्रम देखेर हामीलाई छक्क लाग्यो । हुन त बोल्डर म पहिला पनि आएकै हुँ । संखुवासभाका बिजनेसम्यान नारायण श्रेष्ठका भाइ धर्म श्रेष्ठको घर पनि यहाँ छ । तर, बोल्डरका विविध विशेषताहरूसित म त्यति परिचित थिइनँ । ‘हनुमान उत्सव’ मा विश्वप्रसिद्ध योगगुरुहरूबाट विद्यार्थी र सहभागीहरूलाई प्रशिक्षण दिइने रहेछ । त्यहाँ पूर्वीय संगीत र अनुभवका बारे व्याख्यान दिने कार्यक्रम पनि राखिएको पाइयो । यस्तै ‘नरोपा गर्मी–लेखन कार्यक्रम’ चार साताको रहेछ । यो कार्यक्रममा अमेरिकाका चर्चित लेखकहरूलाई बोलाएर विशेष सम्मान गरिने रहेछ । उनीहरूलाई वक्तव्य पनि दिन लगाइने कार्यक्रम रहेछ । उनीहरूसँग साक्षात्कार गर्ने मौका खुला राखिएको पनि पाइयो । त्यहाँको २९ सौं सडकमा ठूलो चित्रकला प्रदर्शनी देखियो । अगस्त महिनाभरि यस्तैयस्तै कार्यक्रम भए पनि सेप्टेम्बरमा अझ विशेष आकर्षक कार्यक्रमहरूको आयोजना गरिएको पाइयो । फेसन सोको कार्यक्रम पनि रमाइलो लाग्यो । यही महिनामा यहाँ मनाइएको ‘जयपुर साहित्यिक महोत्सव’ को कार्यक्रमको विशेष चर्चा जताततै थियो । अक्टोबरमा युवा पिँढीलाई मनपर्ने अन्य थुप्रै कार्यक्रम छन् भन्ने कुरा पनि चाल पाइयो । हामी दिनभर बोल्डर घुम्यौं । केही राम्रा पुस्तक पसलहरूमा घुमेर दिनभर बिताउने मेरो इच्छा असल साथीको अभावमा थाती नै रह्यो ।
बोल्डर रहेछ, जीवन्त, चञ्चल र तेजिलो । यसको नजिकै रहेको पहाडमाथि अहिले नै झर्लाजस्तै गरेर प्रकृतिले राखेको टल्कने, विशाल छुरीजस्ता चट्टानहरूलाई नियाल्दा–नियाल्दै दिन बित्यो मेरो, पत्तै भएन । यही बेला मास्कोबाट अमेरिका आएर बोल्डरमा बस्ने एलिनालाई सम्झिरहें मैले । रसियाली खाना खुवाएकी थिइन् उनले हामीलाई, मतलब छोरा र मलाई । खुर्पानीको अचारजस्तो अमिलो र स्वादिष्ट खाना । जेठो छोराकै कार्यालय एडिपीमा त काम गर्थिन् नि उनी ! फोर्टकलिन्सबाट आधा घण्टा टाढा त थियो नि बोल्डर ! उनी मेरो छोरालाई आफ्नो घरमा बोलाइरहन्थिन् । एलिना आफ्नो घरमा रोपिएका विभिन्न रूखहरूका बोट, बिरुवा हामीलाई दिइरहन्थिन् रोप्न र घरलाई आकर्षक कसरी बनाउने भनेर सिकाइरहन्थिन् । मलाई भने त्यसमा त्यति रुचि थिएन तर छोरालाई भने त्यसमा विशेष रुचि थियो । हामीले त्यहाँबाट लगेका थुप्रै बोट, बिरुवा रोपेका पनि थियौं घरको वरिपरि । एकपल्ट एउटा पुरानो रूख उखेल्न त्यसलाई बाँधेर मोटरले तानेको दृश्य अझै आँखामा घुमिरहन्छ । तिनै दृश्यहरू बारम्बार मनको फलकमा उत्रिरहन्छन्, जो अब कतै पनि छैन ।

ती दृश्यहरू कहाँ गायब भएछन् ? रसियाली नागरिकहरू आफ्ना देशका साहित्यकारप्रति पनि निकै चाख राख्ने हुँदा रहेछन् । तिनको पढ्ने कोठामा एउटा सानो पुस्तकालय देखें । मैले त्यहाँ नै सर्वप्रथम रसियाली भाषामै छापिएको टाल्सटायको ‘वार एन्ड पिस’, ‘अन्ना करेनिना’, आन्तोन चेखभको ‘फेमस स्टोरिज्’, तुर्गनेवको ‘द फादर एन्ड सन’ (उपन्यास), गोर्कीको ‘मदर’, दोस्तोवस्कीको ‘ब्रदर्स कर्माजोभ’ र ‘क्राइम एन्ड पनिस्मेन्ट’ (उपन्यासहरू) जस्ता कृतिहरू देखेँ । आफूलाई मन पर्ने लेखकहरूका कृति उनीहरूकै मूल भाषामा मुद्रित रूपमा देख्न पाउँदा मलाई अपार आनन्द आयो । गर्वानुभूतिले मेरो आङ ढक्क फुलेको थियो । मैले ती कृतिहरू रसियाली भाषाको अज्ञानको कारण पढ्न नसके पनि निकै बेर छामेर सन्तुष्टि लिने प्रयत्न गरेको थिएँ । आफ्ना प्रिय लेखकहरू, अग्रज र आदरणीय लेखकहरू सँगै बसेको अनुभूतिसमेत मभित्र पैदा भएको थियो । १९ औं शताब्दीको मास्को मभित्र स्वैरकल्पनामा ब्युँझेको थियो । जारकालीन सोभियत संघमा निकैबेर डुबेको थिएँ । छ त त्यस्तो कुनै घर यहाँ नेपालीहरूको ? जहाँ भानुभक्त, देवकोटा, शंकर लामिछाने, भूपी शेरचन, बालकृष्ण सम, माधव घिमिरे, मोहन कोइराला, वासु शशी र मेरा पनि कृतिहरू हिफाजतपूर्वक राखिएको कुनै नेपालीको घर र यस्तै सानो पढ्ने कोठा ? अहँ मलाई त थाहा भएन । अहिलेसम्म अझ त्यसभन्दा पनि पछिका रसियाली कविहरू पुस्किन, मायोकोवस्की आदिमा मेरो रुचि थियो, तर उनीहरूका कृतिहरू भने भेट्न, देख्न पाइएन ।
अमेरिकामा पहिलोपल्ट भोगियो लोडसेडिङ, त्यही दिन राति ९ देखि १० बजेसम्म । झ्याप्प गयो । हामी सबै छक्क । यस्तो त कहिल्यै पनि भएको थिएन । बाहिर कुनै प्राकृतिक प्रकोप पो थियो कि ? तर, त्यस्तो केही देखिएन । धनुषचन्द्र गौतमका छोरी–ज्वाइँ विनोद ठाकुर र छोरीसँग भेट्ने एउटा राम्रो मौका मिल्यो । त्यो मौका जुराइदिने उनकै नातिनी आस्था ठाकुर हुन्, जो हिजो–आज आस्था पन्त भएकी छन् । २० वर्षअगाडि जस्तो देखेको थिएँ, उस्तै देखियो आज पनि उनलाई । दुब्ली पातली । धनुषचन्द्र दाइकै ज्वाइँले पुष्टि गरे, उनका ससुरालाई पहिलोपल्ट मोटरगाडी चिठ्ठामा परेको थियो । हामीले उनका अर्का ससुरा डा. ध्रुवचन्द्रको पनि कुरा गर्‍यौं । ज्वाइँ विनोदको भनाइमा डा. ध्रुवभन्दा धेरै कम मादकपदार्थ सेवन गर्ने हुन् धनुषचन्द्र । उनले आफ्नो ससुराको निकै खुलेर प्रशंसा गरे, जो मलाई उचित लाग्यो ।
यहाँ कति राम्रो घुम्ने ठाउँ ! प्रातःभ्रमणमा जति हिँडे पनि, हिँडिरहे पनि, ठाउँ आइरहने ! मानिसहरू शिष्ट र मिजासिला ! कुकुरसँग दौडनेहरू त जहाँ पनि उत्तिकै पाइहालिन्छ । तर, यहाँका तरुनीहरू ‘हाई, हेलो’ मा निकै अग्रसर । हामीलाई नयाँ देखेर होला ।
अनायास भोजपुरबाट मैले थाहा पाएसम्म पहिलोपल्ट अमेरिका आउने र अरूलाई पनि यहाँ आउन प्रोत्साहन (कि दुरुत्साहन ?) गर्ने इन्जिनियर अमित श्रेष्ठसँग पनि भेट भयो भोजमा । उनका दुई दाजुहरू र म करिब ८ वर्षअगाडि मिनेसोटा राज्यको मिनियापोलिस सहरको साकोपी नामक उपनगरमा सँगै बसेका थियौं । उनलाई पनि ती दिनहरूको झल्झली सम्झना रहेछ । त्यहाँ बस्दा उनलाई मैले दुई/तीनवटा कविता पनि सुनाएको रहेछु । उनले ‘साकोपीको फलैंचा’ छाप्नुभयो त भनेर सोधे । त्यो कविता ‘कवितामा अमेरिका’ नामक पुस्तकमा संकलित छ । उनले त्यो फेरि सुन्न चाहे । तर, म निरुत्तर भएँ । मसँग थिएन । उनले डाक्टरसँग विवाह गरेछन् र अहिले सुखपूर्वक नै थोर्नटर्नमा बसेका रहेछन् । उनीहरूले हामीलाई सफा, स्वच्छ चिनियाँहरूको पसलमा लगेर स्रिम माछा लसुनसँग र अन्य स्वादिष्ट परिकारहरू खुवाए । धेरै पुराना कुराहरू पनि भए । मेरो छोराको मिल्ने साथीमध्ये एउटा थियो ऊ । भोजपुरबारे पनि धेरै कुरा भए । उनैले मेरी फुपूका छोरा प्रमेशलाई पहिलोपल्ट अमेरिका पुर्‍याएका थिए ।
हलक्क बढेका नातिनीहरूलाई देखेर, बुहारीलाई उस्तै देखेर छोराको सम्झनाले प्रत्येक दिन झम्टिरह्यो । उनको फोटो भने कतै राखेको देखिएन घरमा । उनले काठमाडौंबाट रहर गरेर लगेको काठको बुट्टे झ्याल पनि कतै स्टोरमा थन्क्याएछन् । त्यस्तै उनले रहर गरेर आमा–बाबुको ठूलो फोटो ‘इन्लार्ज’ गरेर भित्तामा झुन्ड्याएका थिए, त्यो पनि देखिएन । त्यसले पनि स्टोरमै बास पाएछ सायद । बुहारीकी आमालाई त्यसबारे सोध्यौं पनि । उनले भनिन्— बाबुको फोटो अस्ति निकालेका थियौं तर कसैले सोझो हेर्न सकेनन् र स्टोरमै थन्क्यायौं । हामीलाई पनि धेरै वर्ष त्यस्तै भयो । समय सबभन्दा ठूलो औषधि हो भन्छन् । बिस्तारै ठीक हुँदै जाला । तर, अमेरिका र उसको नाउँ मेरो जीवनसँग अटुट रूपले जोडिएको छ । त्यसलाई कहाँ थन्क्याउने ? मनको कुन स्टोरमा त्यसलाई थन्क्याउने ? छोराको अनुहार र सम्झनालाई मनको कुन स्टोरमा थन्क्याउने ? के त्यस्तो कुनै स्टोर कोठा छ मनमा ? जसलाई कहिल्यै कुनै कुनामा पनि नदेखियोस् ? छ त्यस्तो कुनै कुना मनमा ? जसलाई फेरि कहिल्यै नदेखियोस् ?
त्यो घरमा पूरै घुमिरहँदा दुई चीजमा मेरा आँखा अडिइरहे । एउटा सुन्दर इरानी गलैंचा, जसलाई छोरा र म गएर नेव्रास्कामा नै किनेका थियौं र अर्को मासु पोल्ने अलि ठूलो खालको बार्बेक्यू, जसमा धेरैपल्ट कुखुराको मासु पोलेर हामी बाबु–छोराले कैयौंपल्ट ह्विस्कीसँग खाएका थियौं । यिनै कुराहरू— सम्झना भने पनि संस्मरण भने पनि पछ्याएर आइरहे, आइरहे । नातिनीहरूले नेपाली भाषा, संस्कृति र आचरण त ठ्याम्मै पोलेर खाइसकेछन् । नेपालीको एक शब्द पनि उच्चारण गर्न गाह्रो ! खालि ‘ह बा’ (मतलब हजुरबा) मात्र सम्झिरहेका नेपालीमा । न ढोग्न जानेका छन् न अरू केही मानमनितो । आफ्नी आमासँग पनि अंग्रेजीमा कुरा गर्ने ! बुहारी पनि कनीकुथी अंग्रेजीमै कुराकानी गर्न हौसिने ! मलाई अंग्रेजी आउने भए पनि मैले बोलेको उनीहरूले केही बुझ्लान्जस्तो लागेन । यसको अनुभव मलाई छ । खालि ‘नेपाललाई नबिर्सनू, आऊ है’ भनेकोचाहिँ बुझेजसरी टाउको हल्लाए सबैले । मेरा अमेरिकी नातिनीहरू ! जन्मसिद्ध अमेरिकी नागरिक मेरा प्रिय नातिनीहरू ! छोरा त शून्यमा शून्यजसरी विलीन भइहाल्यो । सायद प्रत्येक व्यक्तिको अन्त्य नै त्यही हो, एउटा शून्यमा अर्को शून्य थपिनु । त्यसको कुनै गणना हुँदैन ।
संसार भनेको त्यत्तिकै पूर्ण छ, पूर्णस्य पूर्णमिदाय... ! पूर्ण हराएर पूर्ण नै बाँकी रहेको विश्व । उपनिषद्मा झैं । आउनेहरू नै बढी छन् र जानेहरू गएर यो पृथ्वी खाली भएको छैन । एउटा पूर्ण मान्छे जान्छ र अर्को पूर्ण मान्छे जन्मन्छ । चलिरह्यो र चलिरहनेछ, जीवनमा । हामीहरूको जीवनमा अविस्मरणीय चोट भएर । छोराले छोरीहरूलाई किनिदिएको ठूलो पियानो पनि कतै देखिएन । सेकेन्ड ह्यान्डमा कतै बेचेछन् कि ? पृथ्वीमा धेरैपल्ट सूर्य आयो र गयो । सधैं नयाँ भएर ब्युँझियो सूर्य । धेरै वर्ष भइसकेछ । धेरै कुरा भूत भैसकेछ, विगत भैसकेछ ।
डेन्भर । ८ वर्षअगाडि सारै राम्रो, सफा र आकर्षक लागेको सहर । फेरि एकपल्ट घुम्नु नै थियो । यहाँबाट १५/२० मिनेट मात्र लाग्ने रहेछ, डेन्भर पुग्न । नयाँ बानेश्वरबाट नयाँ सडक गएजस्तो । संखुवासभाका भाइ डम्बर श्रेष्ठ, उनकी पत्नी पार्वती, हामीहरू र बुहारी एक साँझ उतै लाग्यौं । डेन्भर त्यत्तिकै उज्यालो, आकर्षक र भव्य लागे पनि पहिलेको जस्तो उज्यालो र भव्य हुँदै होइन । सडकमा मानिसहरू पनि कम हिँडिरहेका र बत्ती पनि कम नै बलेजस्तो अग्ला भवनहरूमा । मान्छेले गाउँबाट सहर बनायो । एकप्रकारले सहर आजको सभ्यताको विकसित रूपै हो । तर, गाउँमै पनि सहरमा पाइने सम्पूर्ण सुविधाहरू पुर्‍याइदिएर अमेरिकी सरकारले स–साना बजारहरू निर्माणको नयाँ आविष्कारतिर लागेको आभास पाइन्छ । सहरको व्यवस्था, पट्यार र एकनासपनबाट हैरान भएकाहरू नजिकै उस्तै सुविधासम्पन्न बस्तीहरूमा छरिन थालेका छन् । त्यस्ता बस्तीहरू सहरका घरहरूभन्दा सस्ता, छरिता र प्रशस्त जग्गाजमिनसहित पाइन्छन् अमेरिकामा । सहरको हिंसाबाट त्रस्त मानिस हरेकले हरेकलाई चिन्ने यस्ता बस्तीहरूमा रमाउन थालेका छन् । अमेरिकाजस्तो विशाल देशमा जग्गाको के कमी ? स्वस्थ र गुणस्तरसहितको जीवनको मापदण्ड निश्चित छ । त्यहीअनुसार व्यापारको नयाँ सिद्धान्तमा चलेका छन् बैंकहरू, बिमा कम्पनीहरू, घरजग्गा बेच्ने–किन्नेहरू, होटल–रेस्टुराँ र मलका मालिकहरू । सहरभरि निःशुल्क घुमाउने यात्रुबाहक ट्रलिबस मलाई सुरुमा असाध्यै मनपरेको थियो । त्यो अहिले पनि त्यस्तै छ । तर, पहिलाको जस्तो चम्किलो र भव्य भने होइन । सबैको सल्लाहले एउटा चल्तीको सडकछेउको रेस्टुराँमा पसेर वाइन पिइयो । बदाम टोकियो । रेस्टुराँमा बसिरहेका गौरांग सुन्दरीहरू आकर्षक देखिए । रमाइलो भयो भन्ने नाटक पनि गरियो ।
त्यस्तो कुन बाध्यता वा व्यवधान आइपर्‍यो, जसले गर्दा मेरो छोरा यो सांघातिक कदम चाल्न बाध्य भयो ? धेरै जना मलाई यो प्रश्न गरिरहन्छन् । अमेरिका मानसिक पीडामा यति अल्झेको छ कि कैयौं यो प्रश्न नै बेतुकका मान्छन् । अमेरिका अस्वाभाविक कृत्यलाई पनि स्वाभाविक ठान्न बाध्य बन्दै गइरहेछजस्तो लाग्छ, कहिलेकाहीँ । जीवन र मृत्युको सारै झिनो फरकमा बाँच्दै गइरहेछझैं लाग्छ धेरैपल्ट । मसँग कुनै प्रस्ट जवाफसमेत छैन ।
हो, कैयौंपल्ट उसले आफू डिप्रेसनको रोगी र अनिद्राको सिकार भएको कुरा गरेको थियो फोनमा । राम्रो डाक्टरलाई जँचाउनु भन्नेबाहेक हामीले के अरू के भन्ने ? जँचाएको र औषधि खाइरहेको कुरा गर्थ्यो । असम्भवप्रायः कैयौं रोगको उपचार गर्न मानिस अमेरिका जान हुरुक्क हुन्छन् । अमेरिका पुग्न पाए जस्तोसुकै रोगबाट पनि बाँचिन्छ भन्ठान्छन् हाम्रो देशका मानिसहरू । तर, स्वास्थ्य बिमा गरिएको अमेरिकी नागरिक भएर पनि मेरो छोरा बाँचेन । किन ? मलाई यो प्रश्नले जहिले पनि प्रश्न गरिरहन्छ । अमेरिकासँग यो भवावह पीडाको उत्तर छ ?

Page 18
कोसेली

‘देउपितृ खुसी छन्’

- रोशन शेरचन

झाँक्री विधाबाट कुलपूजा
मेरा पुर्खा प्रकृतिपूजक हुन् भन्ने अनुमान थियो तर यस पाटोतिर खासै पसेको थिइनँ । म आफूलाई बौद्वमार्गी भनी चिनाउँथेँ । कहिलेकाहीँ बोन हुँ कि भन्ने भाव आउँथ्यो । मुवा, पत्नी हिन्दु धर्म पनि मान्ने भएकाले त्यसप्रति मेरो सम्मानभाव थियो नै । कर्मकाण्डप्रति भने आलोचनात्मक हुने प्रयास गर्थें । यस्तै पृष्ठभूमिमा यही मंसिर अन्तिम साताको मुस्ताङ भ्रमणले आफ्नो परम्परालाई नजिकबाट नियाल्ने अवसर दिलायो ।
झन्डै १९ बर्षपछि हुन थालेको कुलपूजाको निम्ति गंगबु बसपार्कवाट रात्रि बस समातेँ । थकाली झाँक्रीसँग साइत हेरेर मिति जुराइएको थियो । मंसिर २४ मा थालेर २५ मा सकिने कुलपूजा मेरालागि कौतुकमय विषय थियो । झाँक्रीको सन्तान भए पनि त्यसले मेरो भौतिक जीवनमा केही प्रभाव पारेको थिएन । सुदूर मुस्ताङको झाँक्री परम्पराको रहस्यमयी बतास विगतको भैरहवा, पोखरा र वर्तमानको काठमाडौंसम्म कहिल्यै आइपुगेन ।
यात्रामा मसंँग बहिनी सलमा शेरचन पनि थिइन् । लामै अन्तरालमा आफ्नो गाउँको यात्रामा पुलकित थिइन् । बसमै अशोक गौचन दाइ भेटिए । उहाँ पूजाकै निम्ति मुस्ताङ जाँदै रहेछन् ।
पोखरा पुग्दा झमक्कै रात परेको थियो । बुद्धचोकबाट सन्तोष शेरचन पनि त्यही बस चढे । कस्तो संयोग ! कुलपूजा सन्तोषकै घरमा हुँदै थियो । उनका बुबा र मेरो बुबा, दुई भाइ । सन्तोषको बुबा दाइ । मेरो बुबा विसं ०२६/०२७ सालमा मुस्ताङबाट बसाइ झरेपछि कुलघर सन्तोषको घर बन्यो । अन्यथा प्रचलनले कान्छा भाइको घर कुलघर हुन्छ । कारण बुबा–आमा कान्छो छोरासँग बस्छन् । झाँक्री पूर्वको ढ्याङ्ग्रो, पित्तलका भाँडा, शालीग्राम र समग पूजा सामग्री सन्तोषकै घरमा राखिएको थियो । तीन–चार बजे राति कोबाङस्थित कालीगण्डकी बगरमा बसले ओरालेपछि टर्च बाल्दै घर पुग्यौं ।
अर्को बिहान, डाँडामाथि सूर्य चढ्दै गएपछि, कोबाङ गाउँ पनि दृष्टिमा चढ्दै गयो । साँझ झाँक्री पनि आइपुगे । मेरो बुबा, मुवा, भाइ दुई साताअघि नै गाउँ पुगिसकेका थिए । मुवाले बहिनीहरूसँग मिलेर घरको सरसफाइ, लिपपोत गरिसकेकी थिइन् । जाँड बनाउन भात र मर्चा हालिसकेकी थिइन् । सन्तोषले मलाई भित्री कोठा देखायो । साँघुरो त्यो कोठामा चामल राख्ने माटाले लिपेका आठ दस घैंटा थिए । पश्चिम भित्ताछेउ काठका दुईटा मदुस देखिन्थ्यो । बलिया न बलिया लाग्ने, कालै भइसकेका । सन्तोषले एउटा मदुस खोल्यो, त्यहाँ देउता र पूजासामग्री राखिएका थिए । त्यसको ढक्कन खोल्दा अनौठो गन्ध कोठाभरि फैलियो । जालो लागिसकेको, धूलोको मोटो परत जमेको, मिनिएचर खण्डहर सादृश्य थियो मदुस । त्यसभित्रबाट पित्तलको चारवटा कलश, धुपी र सल्लाका सुकेका हाँगा, दर्जनौं शालिग्राम, चराको आकृति भएको धातुजडित लौरो, हाडखोर, अक्षता, पुराना सिक्का र नोट, सानो फलामे त्रिशूल, चुप्पी, तरबार निस्किए । सन्तोष र मैले पालैपालो ती सामग्री झिकेर डेक्चीमा राख्दै, मनतातो पानीले पखालेर, शालिग्राम र हतियारको हकमा तोरीको तेलले घसेर चोखो स्थानमा राख्यौं । भाइ उज्ज्वल, गौतम र उत्तमले सघायो ।
कुलपूजा अर्थात् पूर्वजले थालेको पूजा । कति पुस्ता अघिसम्म कुलपूजा तन्किन्छ, थाहै छैन । तर, मेरा बाजे पुर्खा नन्दबहादुर शेरचन उहिल्यै थाक सात सय क्षेत्रमै कहलिएका झाँक्री थिए रे । अधिकांश सामग्री सायद उनैले जुटाएका हुन् । सात सय कुरिया भएकाले सात सय क्षेत्र भनिएको रहेछ । नन्दबहादुर बाजेको नाम मात्र सुनेथेँ । देउता र पूजा सामग्री सफा गर्दा बाजे हाम्रै अघिल्तिर उभिइरहेका छन्झैं लाग्ने । मैले धेरै तादात्म्य भाव देखाएकाले सायद त्यस्तो भयो । मान्छे इमोसनल क्रियचर पनि हो, थाहा थियो । बेस्सरी अनुभव गरेँ । थाक सात सयकै कुलपूजा र अन्य कर्ममा उनी नै डाकिन्थे रे । कालीगण्डकीपारि सौरु गाउँतिर कोही दुःखबिमार भएर फाकफुक गर्न जानुपर्दा वर्षामासमा कालीगण्डकीको पानी टेकेर पुग्थे रे । लख काट्न सकिन्थ्यो— उनी नामूद झाँक्री थिए । किंवदन्तीहरू साधारण र सामान्य व्यक्तिमाथि कहाँ बनेको छ र ?
हाम्रो सन्तानमा कसैले झाँक्री विधालाई निरन्तरता दिएनन् । खासमा कान्छा छोराले त्यस अर्थमा मेरो बुबाले नै निरन्तरता दिन पर्ने प्रचलन हो । बुबाले युवा उमेरमा उक्त विधा सिकेका पनि रहेछन् । गुरु झाँक्रीलाई एकाध कर्मकाण्डमा सघाएका पनि रहेछन् । ‘तर २००७ सालको जागरणले हामीलाई पनि छोयो । तसर्थ पढ्नुपर्छ भनेर बनारसतिर हिँडेँ’, बुबाले बताउनुभयो ।
बनारसबाट फर्किएपछि छत्र मास्टर थकाली र बुबाहरू मिली जोमसोमको स्कुल स्थापना गरेका थिए । प्रारम्भिक वर्षहरू जोमसोमै पढाए पनि । एकाध बाजेहरूले भने झाँक्री परम्परा थामेको देखिन्छ । तर, उपल्लो तहको झाँक्रीमा नन्दबहादुरकै नाम आउँछ । आफ्नो सन्ततिमा कसैले इच्छा राखे सपनामा आई मन्त्र फुकेर भए पनि झाँक्री विधा सिकाउँछु भनेका थिए रे !

थकाली समुदायमा ज्वाइँ हुन सजिलो छैन । मर्दा–पर्दा, विवाह कर्ममा ज्वाइँ नभई कामै सर्दैन । यता गर ज्वाइँ, उता गर ज्वाइँ । एक जना ज्वाइँ काठमाडौंबाटै सँगै थिए । अर्को ज्वाइँ मुस्ताङमै व्यवस्था भए । थमसेल भनिने विधिप्रक्रियाबाट अर्को दिन कुलपूजा सुरु भयो । झाँक्री श्रुति–परम्परामा आधारित विधा रहेछ । शिष्य नभए, विधा लोपै हुने । झाँक्री नवीन युवा थिए । थकाली सेवा समितिले परम्पराको जगेर्ना गर्न तालिमको व्यवस्था गरेकोले उनी झाँक्री परम्पराको पछिल्ला कडी थिए । उहिल्यै पूर्वज म्याग्दीमा सरेकाले मुस्ताङलाई पुर्खाभूमि मानेर नतमस्तक हुन्थे । नन्दबहादुरकै घरमा आई उनकै देउता र पूजासामग्री अघि राखी कुलपूजा गर्न पाउनुलाई अहोभाग्य मानेको थिएँ ।
पहिलो दिन, भेडाको भोग दिँदा रहेछन् । भेडा पनि सेतो, दाग कतै नलागेको, स्वस्थ हुनुपर्ने । भोग दिने भएकाले पूर्वज प्रकृति पूजक रहेछन् । बसाइसराइको क्रममा वा अहिंसा र करुणाको दर्शनबाट प्रभावित भएर बौद्धमार्गी हुने धेरै थकाली छन् तर परम्परा अर्कै रहेछ । मन्त्रोच्चारण गरीवरी, सबै परिवार, ज्वाइँहरूले गिलासको रक्सीमा धुपीको पातले चोपल्दै, झाँक्रीको पछि थेमो थेमो... उच्चारण गर्दै रक्सी छर्कन्थ्यौं । सबै पूर्वजको नाम लिँदै उनीहरूलाई रक्सी, जाँड, चुरोट र स्वादिला खाने कुरा चढाउने चलन रहेछ ।
धुपी र दियालो जलेर वातावरणमा सुगन्ध व्याप्त छ । काठको सिन्कामा धुपी, सल्ला र राता काला ध्वजा टाँगिएका छन् । सानो अग्निकुण्डबाट चरुको बास्ना र धूवाँको कुइरीमण्डलीबीच सबैले क्रमशः भेडामाथि पानी छर्क्यौं । पर्सिए मात्र त्यो भेडा भोग दिन योग्य मानिँदो रहेछ । लामो समय लिएर भेडा पर्सिइयो । मंसिरको जाडोमा, निथ्रुक्क भिजेको भेडासँग मन पनि भिज्दै गयो । सानो छँदा कसैले कुखुरा मारे रुने म, त्यो स्वाभाविक थियो । शताब्दियौंदेखि चलिआएको मार्ने तरिका अनौठो लाग्यो । छातीमा चुप्पी घोप्ने, चिर्ने र मुटु थुत्ने ! मन बिथोलिँदै थियो तर तर्कले भन्न थाल्यो— सयौं वर्षअघि पूर्वजको सबैभन्दा ठूलो लडाइँ नै प्रकृति र जंगली जनावरसँग थियो । त्यसैको सिम्बोल थियो त्यो ।
बिजुलीबिना जंगलछेउ बस्नुपर्ने भएकाले हिंस्रक वन्यजन्तुको भय सधैँ थियो । त्यस्तोमा जनावरको मानवीय स्वरूपको कल्पना सम्भव थिएन । शत्रु भएपछि जनावरलाई मार्ने नै ध्येय हुन्छ । त्यस्तै प्रकृतिप्रदत्त हिमपात, हावाहुरी, भेलबाढी, खग्रास ग्रहण आदिले पनि मान्छेलाई जति दुःख दिएका थिए, उति रनभुल्लमा पारेका थिए । प्रकृतिजन्य अनेकन विपत्तिहरूको वैज्ञानिक कारण थाहा नभएको बेला प्रकृतिलाई मनाएर हुन्छ कि, भोग चढाएर हुन्छ, मान्छेले आफ्नो समुदायलाई ढाडस दिँदै, आश्वस्त पार्दै आएका हुँदा हुन् । त्यही परम्परा त्यही स्वरूपमा अहिलेको समयसम्म आउँदा आश्चर्य लाग्ने नै भयो । भेडा मार्दा भाइ र बहिनी बाहिरिए । मचाहिँ भित्रै बसेँ । तर, नजर फेरेँ । त्यस क्षणलाई अनुभव गर्नुपर्छ भन्ने भावना बलियो थियो । यता भेडा पीडाले चिच्याउन थाल्यो, उता वातावरण रहस्यमयी बन्दै गयो ।
झाँक्रीले कसैले नदेख्ने गरी कालीगण्डकीको चोखो पानीले पूजा सामग्री पखाल्नु र जल ल्याउन भनेका थिए । बिहानै ३ बजे कालीगण्डकी जाने सल्लाह भयो । कालीगण्डकीे सबैभन्दा फराकिलो भएर बग्ने गाउँ सायद कोवाङ लार्जुङ नै होला । अर्को टुकुचे । मार्फामा कालीगण्डकी थोरै साँघुरिन्छ । जोमसोममा त झन् साँघुरिएको छ । त्यसकै किनारमा एयरपोर्टको रनवे
बनेको छ ।
केही दिनयता घाम शिथिल थियो । चिसोले कालीगण्डकी उपत्यका कब्जा गरेको थियो । ३ बजे घरबाट निस्कियौं । सन्तोष, उज्ज्वल, उत्तम, अशोक दाइ र म टर्च बालेर कालीगण्डकीतर्फ अघि बढ्यौं । त्यो निस्पट्ट अन्धकारमा कोही सुतेका छैन भने कालीगण्डकी र हामी मात्रै । काठमाडौंबाट हिँड्दा कुलपूजामा उपस्थित हुनेजस्तो मात्र सोचेथेँ । तर, यहा त भिड्नु नै पर्ने रहेछ ।
करिब २० मिनेट हिँडेपछि कालीगण्डकीको पिलन्धरे भंगालो पार गरेर अलि ठूलो भंगालाछेउ रोकियौं । क्रमशः चारवटा पित्तलका भाँडा र पूजा सामग्रीलाई चोखो पानीले पखाल्यौं । चोखो जल भर्‍यौं । छोइनसक्नुको ठिहिराउने चिसो थियो पानी तर भावनात्मक बल कैयन गुणा तातो थियो । थेमो थेमो... गरेर निविड अँध्यारोमा पुर्खालाई सम्झनु धेरै भावुक बनाउने कर्म रहेछ । खोला, नदी र समग्रमा पानी किन संस्कृति हो भन्ने विषय थप प्रस्ट हुँदै गयो । सानैदेखि भैरहवा, पोखरा र अहिले काठमाडौंमा बसोबास गरेको, मुस्ताङमा घुम्न र जागिरको दौरानमा मात्रै पुगेकाले त्यो पाटो छुटेछ । आफ्ना रुटलाई थोरै भए पनि खोतलेँ यसपालि । पुर्खा पितृहरूका निम्ति गरिने भएकाले यसै भावनात्मक भइने, झाँक्रीको दर्बिलो स्वर र रौद्र स्वरूप, मन्त्रोच्चारणले मनोदशालाई तरंगित गरिरहने, अतियथार्थिक अनुभव भयो ।

दोस्रो दिन सबै गाउँलेलाई खाना खान सामुदायिक भवनमा आमन्त्रण गरिएको थियो । झाँक्रीको निर्देशनअनुसार थेमो गर्ने, चामल छर्कने, पूजा सामग्री पखाल्ने, चोखो ठाउँमा सार्ने, ध्वजालाई स्याउको बोटमा चारै दिशा अक्षता छर्कंदै सिमेभुमेबाट रक्षा गर्ने, सबैको मंगल हुने र केही बिराम भए क्षमा गर्न भन्दै ध्वजा बाँध्यौं, सन्तोष र मैले । रातो भालेको पनि भोग दिइएको थियो । वास्तवमा कोबाङमा कुलपूजा छत (थकाली भाषामा थारा) मा गर्ने चलन रहेछ । छत समथर र कमेरो माटो खाँदेर बनाइएको हुनाले बिस्कुन सुकाउन, अन्न झाड्न र पूजा गर्न उपयुक्त छ । तर, यो कुलपूजा कोठाभित्र गरिएको थियो । झाँक्रीका अनुसार, यस परम्परामा गुरुबाट जे–जस्तो सिकिन्छ, त्यही गरिन्छ । त्यसलाई अन्यथा लिनुहुन्न । झाँक्री विनम्र र व्यावहारिक थिए ।
भेडाको मासुझोलसँग भात, ससेज (थकाली भाषा काढुङ) खायौं । सबै ज्वाइँ र माइतीलाई बिदा गरियो, आशिष थाप्यौं । लामो अन्तरालमा कुलपूजा सम्पन्न भएकोमा एउटा राम्रो काम भयो भन्ने सबैको मनमा परेको थियो ।

प्रकृतिको हिमकला
हिँड्ने बेला भारी हिमपात भयो । जोमसोमबाट बस नछुट्ला कि शंका थियो । तैपनि खन्तीको बगरमा बस कुरेँ । सम्पूर्ण ल्यान्डस्केप सेताम्मे देखिएको थियो । दिउँसोको साढे बाह्र बजे बस आइपुग्यो । करिब डेढ घण्टा घट्टेखोलाको पुलमा हिउँमा चढ्न नसकेर गाडी रोकियो । बल्लबल्ल उक्ल्यो । लेतेनेर कालीगण्डकी बगर जमेको हिमतालजस्तो देखिन्थ्यो । त्यहाँ पनि गाडी उक्लन गाह्रै पर्‍यो । बेलुकीसम्म जसै पोखरा पुग्नु छ । लेतेको चढाइ कटेपछि भने गाडीले गति समात्यो ।
सेताम्मे धौलागिरि नीलगिरि ल्यान्डस्केपमा गाडी गुडिरहेको थियो । मेरो मनमा धेरै कुरा खेलिरहेका थिए । यसपालि आफ्ना पुर्खाको विश्वासपद्धति र परम्परालाई नजिकबाट अनुभव गर्न पाएकोमा भिन्न अनुभव गर्दै थिएँ । झाँक्रीले अन्तिम दिन जोखना हेरेर भनेको सम्झेँ— भेडा, कुखुराको भित्री अंग हेर्दा, सपनीमा आएको पनि विचार्दा देउपितृहरू कुलपूजा राम्रोसँग सम्पन्न भएकोमा खुसी छन्, देउपितृहरू हाँसेका छन् । थेमो थेमो... उच्चारण गर्दै भावविह्वल बन्यौं । सबै प्रसन्न भयौं । मुवा धेरै खुसी हुनुभएको थियो । धेरै अन्तराल बितेकाले कुलपूजा गर्न अब ढिलाइ गर्नुहुन्न भन्नेमा मुवा नै प्रमुख हुनुहुन्थ्यो । परिवारका सबै सदस्यले सहभागी जनाउँदै साथ दिए । झाँक्रीले नै देउपितृ खुसी छन् भनेपछि सन्ततिहरू स्वाभाविक रूपमा प्रसन्न हुँदा रहेछन् । मानव जाति यस्तै सामूहिक मनोविज्ञान अडेसो समाएरै यहाँसम्म आइपुगेको रहेछ । हिमदृश्य पनि बससँगै गुडिरहेको थियो । घाँसामा हिउँ देखिन छाडेपछि भने लाग्यो, अब पूर्वजभूमि छाडिएको छ ।
हिउँमा लेखेर आएका छौं
हामीले आ–आफ्ना नामहरू
एकै छिनपछि घाम लाग्यो भने
रहने छैनन् हाम्रा नामहरू
एकै छिनपछि हिउँ थपियो भने
पनि रहने छैनन् हाम्रा नामहरू
हामी हुँदै नरहने हाम्रा नामहरू,
हामी नै नभएपछि कसरी रहलान् हाम्रा नामहरू
– तीर्थ श्रेष्ठ

Page 19
कोसेली

खुर्सानीको पिरो–कथा !

- घनश्याम खड्का

खोकनाको एक घरमा सुकाइएको खुर्सानी 

नेपालमा पिरो, अलिअलि पिरो र ज्यादै पिरो गरी सबै खालका १५ थरी खुर्सानी पाइन्छन् । सबभन्दा पिरो डल्ले भनिने अकबरे हो । साह्रै पिरो हुने हुनाले मानिसहरू यसलाई ज्यानमारा पनि भन्छन् । त्यसभन्दा पनि साह्रै पिरो सानो काँटीको खुर्सानी हुन्छ, त्यसलाई मान्छेहरू जिरे खुर्सानी भन्ने गर्छन् । तर, त्यसभन्दा पनि पिरो खुर्सानी नेपालमा छ । दैनिक–जीवनमा जोडिएको नवै द्वारमा कम्पन पैदा गर्ने खुर्सानीबारे एक आलेख :


नवै द्वारमा कम्पन पैदा गर्ने कुनै खानेकुरा छ भने त्यो के होला ? उत्तर आइहालेन भने पनि धेरै घोत्लिरहनु पर्दैन । बरु, एउटा पिरो खुर्सानी टोक्नुस्, अनि त्यसको तीव्र प्रतिसंवेदन–स्मृति सम्प्रजन्यका साथ महसुस गर्नुस् ।
प्रस्टै छ— तपाईंको जिब्रो पोल्नेछ, दुवै आँखा टिलपिल हुनेछन्, नाक रसाउन थाल्नेछ । जिनिस बढी नै पिरो छ भने अलिक ख्याल गर्नुहोला, कान रनक्क तातेजस्तो पाउनुहुनेछ । भोलिपल्ट शौचादि कर्मका क्षण मूलाधार चक्रछेउमा त्यस्तै एक तीव्र जलन अनुभव हुनेछ । दुई आँखा, दुई कान, दुई नासिका, खटप्वालजस्तो एक मुख र एक शौचद्वार गरी आठ स्थानमा त खुर्सानीको प्रभाव अब प्रस्ट भइहाल्यो । धेरैलाई थाहै छ, बाँकी एक हो यो चराचर सृष्टिको द्वार । तर, त्यहाँ खुर्सानीको प्रभाव के पर्छ भन्नेचाहिँ धेरैलाई थाहा नहुन सक्छ ।
पोषणविद्हरू भन्छन्, खुर्सानीले रतिरागलाई मात्रै उकास्दैन, क्रियाशक्ति पनि बढाउँछ । खानपानबारे लेखिएको प्रसिद्ध पुस्तक ‘द ग्रेट अमेरिकन डिटक्स डाइट’ की लेखिका अलेक्जेड्रा ज्यामिसन आफ्नो परामर्शमा आउनेहरूलाई खुर्सानीको यस फाइदाबारे पनि बताउँछिन् । उनले हालै लिभिडो (कामशक्ति) बढाउने प्राकृतिक खाने कुराका बारेमा लेखेको एक आलेखमा खुर्सानीलाई पनि समावेश गरेकी छन् ।
खुर्सानीमा पाइने पिरो तत्त्व क्याप्सिसिनले कामशक्ति बढाउँछ भन्ने मत त जीवशास्त्रीहरूको पनि छ । समागमका लागि कामाङ्गमा रक्तप्रवाह ज्यादा हुनुपर्छ । खुर्सानीले रक्त प्रवाहमा सुधार ल्याउन मद्दत गर्ने हुँदा त्यसको प्रत्यक्ष फाइदा रतिक्रीडाको क्षमतामा पनि पुग्न जाने उनीहरूको निचोड अनुसन्धानसिद्ध छ ।
यति बुझिसकेपछि अब प्रस्टै भयो, शरीरका सबै द्वारमा उत्तिकै असर पार्न सक्ने खुर्सानीजत्तिको प्रचलित खाने कुरा अर्को छैन । प्रायः सबैतिर खाइने यो खुर्सानी मान्छेको मुखमा नियमित पर्न थालेको १० हजार वर्षजति भएको अनुमान वैज्ञानिकहरूको छ । हाम्रा वनस्पतिशास्त्री डा. तीर्थबहादुर श्रेष्ठलाई मन पर्ने धेरै वनस्पतिमध्ये एउटा हो— खुर्सानी ।
‘किन पनि मलाई यो राम्रो लाग्छ भने म एसिडिटीका कारण अचेल मुख बार्न थाल्नुअघिसम्म खुर्सानी स्वाद मानेर खाने गर्थें,’ उनी भन्छन्, ‘खुर्सानी मेरा लागि पुराना दिनको सम्झना गराउने वनस्पति पनि हो ।’
काठमाडौंको महाबौद्धमा जन्मेका श्रेष्ठका बाबु अँगेनामा खुर्सानी पोलेर स्वादले खाने गर्थे । त्यही उपक्रममा खुर्सानी खान थालेका रहेछन् उनले पनि ।
डेढ दुई दशकअघिसम्म भदौको महिना भक्तपुर, काठमाडांैं र ललितपुरका पुराना नेवारी बस्तीका झ्याल–झ्यालमा मालाझैं झुन्ड्याएर राखिएका राता खुर्सानीका माछीकाँडे लहर थपक्कसँग बसेका छन् उनको सम्झनामा । तिनताक खुर्सानी सुकाउने त्यस दृश्यले उपत्यकावासीहरू स्वतः बुझ्थे, अब वर्षा समाप्त भयो र शरद लाग्ने बेला भयो ।
‘मौसम सम्झाउने खुब गज्जबको कृषिकर्म थियो त्यो,’ श्रेष्ठ भन्छन्, ‘अब त उपत्यकामा न खुर्सानी फल्ने बारीहरू छन्, न त्यसलाई झुन्ड्याउने पुराना झ्यालहरू नै ।’
वनस्पतिशास्त्रको अध्ययन गर्दाताका खुर्सानीबारे गरेको अनुसन्धान र भदौरे झरीमा पोलेको मकैसँग होस् वा चिरेको काँक्रासँग, उपत्यकाका खुर्सानीको लेप लगाएर मुखभरि रसहरू उत्पादन गर्दै खान्थे तीर्थ ।
उनका अनुसार नेपालमा पिरो, अलिअलि पिरो र ज्यादै पिरो गरी सबै खालका १५ थरी खुर्सानी पाइन्छन् । त्यसमध्ये धेरैलाई के लाग्छ भने, सबभन्दा पिरो डल्ले भनिने अकबरे हो । साह्रै, पिरो हुने हुनाले मानिसहरू यसलाई ज्यानमारा पनि भन्छन् । त्यसभन्दा पनि साह्रै पिरो सानो काँटीको खुर्सानी हुन्छ, त्यसलाई मान्छेहरू जिरे खुर्सानी भन्ने गर्छन् । तर, त्यसभन्दा पनि पिरो खुर्सानी नेपालमा छ भन्छन् श्रेष्ठ ।
‘खाँदबारीतिर जातिविधी पिरो हुने खुर्सानी पाइन्छ, एउटै खुर्सानीले सिंगै राँगाको मासुलाई पिरो पार्न पुग्छ,’ उनी भन्छन्, ‘त्यसैले स्थानीयहरू त्यस खुर्सानीलाई राँगे खुर्सानी भन्ने गर्छन् ।’
वनस्पतिशास्त्रको चस्माले खुर्सानीको बारेमा अध्ययन गर्दै जाँदा श्रेष्ठले रोचक इतिहास पनि भेट्न पुगेका रहेछन् ।
‘चीनसँग युद्धमा हारेपछि नेपालले बर्सेनि भोटलाई तिरोको रूपमा केही मुरी खुर्सानी तिर्ने गरेको रहेछ,’ उनी भन्छन्, ‘यसबाट नेपाल खुर्सानी फल्ने देश हो भन्ने त प्रस्ट हुन्छ नै, चिनियाँहरू पनि खुर्सानीमा विशेष चासो राख्छन् भन्ने पनि खुल्न आउँछ ।’
खुर्सानी नेपालमा फल्ने भए पनि यसको उत्पत्ति भने दक्षिण अमेरिकी देश मेक्सिकोमा भएको हो । मेक्सिको र त्यस महाद्विपका मानिसको जिब्रालाई कम्तीमा १० हजार वर्षदेखि नै खुर्सानीले रन्थन्याउन थालिसकेको देखिन्छ । कोलम्बसले अमेरिका पत्ता लगाउँदा काउली, गोलभेंडालगायतका थुप्रै तरकारी र वनस्पतिसँगै खुर्सानी पनि संसारमा ल्याए र बाँकी संसारमा यो फैलियो । त्यस उपक्रममा संसारभर स्थानीयकरण पनि हुँदै गर्दा अनेकथरी खुर्सानीहरूको विकास हुँदै गएको तथ्य हाम्रा वनस्पतिविद् श्रेष्ठको शोधले देखाएको छ । खुर्सानीबारे भएको एक अध्ययनअनुसार, युरोप र उत्तरी अमेरिकामा सबभन्दा कम खुर्सानीको खपत हुन्छ भने दक्षिण अमेरिका, एसिया र अफ्रिकामा सबभन्दा बढी खुर्सानी खानेहरू बसोबास गर्छन् ।
खानेकुरा जति धेरै भए पनि स्वादका हिसाबले ती जम्मा ६ थरी छन्, गुलियो, नुनिलो, अमिलो, पिरो, तितो र टर्रो । संसारमा सबभन्दा धेरै मानिसले खाने भनेको गुलियो हो, किनभने यो मिठो हुन्छ र खाँदा कसैले आँसु बगाउनु पर्दैन । फेरि, गुलियो स्वादका स्रोत पनि असंख्य छन् । त्यस्तै अमिलो, पिरो र टर्रो स्वादका स्रोत पनि उत्तिकै छन् । नुन वनस्पतिजन्य पदार्थ नभई खनिज भएको हुनाले यसको विविधीकरण हुने भएन । तर, वनस्पतिबाट मिल्ने पिरो स्वाद भने खुर्सानीमा मात्रै पाइन्छ । यस्तो लाग्छ, खुर्सानीले ब्रह्माजीसँगै पेटेन्ट राइट लिएको छ पिरोको ।
हुन त, झट्ट खाँदा पिरपिरो लाग्ने चाउरिएको सानो गेडो पनि छ, जसलाई हामी मरीच भन्छौं । तर, त्यसमा क्याप्सिसिन पाइन्न जो खुर्सानीमा हुन्छ । मरीचमा त पेपराइन भन्ने पदार्थ भेटिन्छ, जसले गर्दा जिब्रामा राख्नेबित्तिकै पिरोजस्तो अनुभव हुने काम गराउँछ । मरीचमा सबै दानामा समान रूपले पेपराइन पाइने हुँदा यो फल साम्यवादीजस्तो भने पनि हुन्छ । खुर्सानीचाहिँ पुँजीवादी चरित्रको छ । पुँजीवादी अर्थव्यवस्थामा मानिस कुनै व्यापक धनी, कोही मध्यम र कोहीचाहिँ निर्धन भएजस्तै खुर्सानीमा पनि कुनैमा अचाक्ली क्याप्सिसिन, कुनैमा ठीकै र कुनै हुँदै नभएको तन्नमसमेत हुन्छन् । क्यारोलिना रिपर सबभन्दा बढी क्याप्सिसिन अर्थात् पिरोपन भएको खुर्सानी हो ।
डा. श्रेष्ठले सानोमा देख्ने गरेको उपत्यकाका ठिक्कका पिरो लाम्चा खुर्सानीचाहिँ मध्यम वर्गका पर्न आउँदा हुन् । त्यस हिसाबले हेर्दा भेडे खुर्सानीचाहिँ हरितन्नम सर्वहाराजस्तो छ । सर्वहारासँग जसरी सम्पत्तिको नाममा कौडी पनि हुँदैन, यो मोरो भेडे खुर्सानीसँग पनि एक जात क्याप्सिसिन छैन ।
तर रमाइलो के भने, सर्वहाराहरू बिल गेट्स मार्काका सबभन्दा पिरो खुर्सानी खान रुचाउँचन्, जसरी गरिबहरू सम्भ्रान्त जीवनको सपना देखेर थाक्दैनन् । अनि सम्भ्रान्तहरूचाहिँ हत्तपत्त चिल्लो पिरो भोजन ग्रहण गर्देनन् । उनीहरूको रोजाइमा सलाद पर्छ, जसमा त्यो खुर्सानीको जातमा क्याप्सिसिनका हिसाबले हरितन्नम भेडे खुर्सानी हमेसा पर्छ, जसरी धनीहरू सरल हुन मिहिनेत गरेजस्तो गर्छन् !
मेक्सिकोमा उत्पत्ति भए पनि मानवीय क्रिया–व्यापारका दौरान लगभग सबै देशमा अचेल उम्रिन्छ र पृथ्वीको हरेक तेस्रो मान्छे दैनिक खुर्सानी खाने गर्छ भन्ने रमाइलो तथ्याङ्कका साथ सन् २०१० को १४ सेप्टेम्बरका दिन बेलायती पत्रिका ‘द गार्जियन’ ले डेभलप्मेन्टल साइकोलोजिस्ट जासोन गोल्ड म्यानको एक आलेख छापेको थियो ।
उनको खोज रमाइलो छ । उनी भन्छन्, मनुष्य जातिमा प्राणाघात गर्ने एक वृत्ति हुन्छ । हात्ती, गोही, कछुवा, चरा, सर्प, मृग आदि कुनै प्राणीले पनि जानाजान आफूलाई हानि हुने काम गर्दैनन् । तर मान्छे, क्यान्सर हुन्छ भन्ने थाहा पाईपाई चुरोट तान्छ, रक्सी पिउँछ र गहना लगाउने नाममा नाक–कान प्वाल पार्छ । समग्रमा आफूलाई दुःख दिएर रमाउने एक अनौठो र घातक बानी मनुष्य जातिमा बाहेक अर्कोमा पाइँदैन । मनोविद् जासोन खुर्सानी खानुलाई पनि मान्छेको यही अनौठो वृत्तिलाई कारण मान्छन् ।
‘खुर्सानीमा त्यस्तो रहरलाग्दो कुरो के छ ?’ उनको प्रश्न छ, ‘खाएपछि ज्यानै जालाजस्तो हुन्छ, र पनि मानिसहरू खान्छन्, किन त ?’
किनभने, प्राणाघात गर्ने उही वृत्तिले यहाँ काम गरेको छ । बालबालिकाहरू सरल चित्तका हुन्छन् । उनीहरूमा जीवनको नैसर्गिक मोह हुन्छ र वृत्तिगत हिसाले अरुचिकर खाना उनीहरू खाँदैनन् ।
‘त्यसैले कुनै बालबालिका पिरो खान मन पराउँदैनन्,’ जासोन भन्छन्, ‘तर पछि, बाबुआमाले खाएको देखेपछि, समाजका अरू गतिविधिमा अभ्यस्त हुँदै जाँदा हुर्कंने क्रममा त्यही बालक पछि खुर्सानी खाने बानी बसाल्न पुग्छ ।’
खुर्सानी खानेहरूको आनीबानी नियाल्यो भने उनको तर्क उचितै जँच्न आउँछ । उदाहरणका लागि १२ कक्षाकी छात्रा प्रशंसा उप्रेतीकै कुरा गरौं न ! उनकी आमा खुब खुर्सानी खान्थिन्, जसलाई उनले सानैदेखि देख्दै आएकी थिइन् ।
‘सात वर्षजत्तिकी भएपछि मैले पनि खुर्सानी टोकें, पछि अलिअलि गर्दै बानी पर्‍यो’ हेटौंडा बसमाडीकी १८ वर्षीया उनी भन्छिन्, ‘कलेज जाने बेलासम्म त म दिनमै तीन–चारवटा खाने भएँ ।’
बिहान–बेलुका भातसँग मात्रै होइन, दिउँसो खाजाका रूपमा चटपटेमा हालेर अति खुर्सानी खाने गर्नाले उनको आन्द्रामा घाउ भएछ, जसलाई डाक्टरी भाषामा अल्सर भनिन्छ । हाल उनलाई डाक्टरले खुर्सानी खान प्रतिबन्ध लगाएका छन् ।
‘तर, मलाई खुर्सानीबिना भात खाएजस्तै लाग्दैन,’ उनी भन्छिन्, ‘के गर्नु, खाएपछि पेट बिग्रन्छ भनेपछि खान पनि भएन! ’
हुँदैन भन्दाभन्दै पनि कहिलेकाहीँ त उनी खुर्सानी हाइहाल्छिन् । पेट पोल्न पूरै निको भएपछि पहिलेजस्तो नभए पनि थोरै खुर्सानी खानाका साथ अवश्य खाने विचारमा उनी छन् ।
नवद्वारै प्रकम्पित पार्ने खुर्सानी खान यस्तो जिद्दी प्रतिज्ञा गर्न मस्तिष्कको कुन तन्तुले उस्काउँछ त ?
यसबारे पनि मनोविद्हरूको रोचक खोजबिन छ । पीडालाई कम गराउने खास किसिमको जीव रसायन छ, जसलाई अंग्रेजीहरूले इन्डोर्फिन नाम दिएका छन् । शरीरमा पीडा हुँदा र तनावले घेर्दा जीवनरक्षाका लागि मस्तिष्कबाट निस्पत्ति हुने यो रसायन निस्केपछि पीडा कम भएजस्तो अनुभव हुन्छ । शारीरिक व्यायाम गर्दा र सहवासका क्षण आनन्द हुने यही जीव रसायन निस्कनाले हो । स्नायुशास्त्रका अनुसार, खुर्सानी खाएपछि जीब्रोमा हुने अतिशय जलनलाई मस्तिष्कले ठूलो शारीरिक कष्ट आएछ क्यार भन्ने ठान्न पुग्छ र तुरुन्त इन्डोर्फिन छाडिदिन्छ । पिरो घट्दै गएपछि पहिलेभन्दा मन रमाएजस्तो हुन पुग्छ र अवचेतन मनमा खुर्सानीको माग बढ्दै जान्छ, त्यसैले पिरो भए पनि आँसु निकाल्दै खुर्सानी खाइरहनाको कारण यही हो । यो भनेको, हामी बिमारी पर्दा परिवारजन र मित्रमण्डलीले बढी माया प्रदर्शन गरेजस्तो हो । बिरामी पर्दा मात्रै बाबुआमाको ध्यान पाउने छोराछोरी र पतिको माया पाउने पत्नीहरू बिरामी नै नभए पनि भएजस्तो गरी ढाँट्ने बानीको सिकार हुन पुग्छन् । खुर्सानीका सम्बन्धमा पनि पछि करिब–करिब त्यस्तै हुन पुग्छ । मस्तिष्कले जलन अनुभव गरेपछि इन्डोर्फिन दिने हुनाले हामी खुर्सानीको सहाराले जिब्रामा दिनहुँ कृत्रिम आगलागी गराउँछौं र अलिकति इन्डोर्फिन निकाल्न लगाएर केही राहत अनुभव गर्छौं ।
बिनाव्यायाम र सहबास इन्डोर्फिन निस्पत्ति गराउने यो रणनीतिको संसारका हरेकजसो देशमा सेलिब्रिटीहरूका साथमा ठूलठूला स्पर्धासमेत हुने गरेको छ, जहाँ प्रतियोगीहरूले कम परिमाणदेखि ठूलो सर्वाधिक परिमाणसम्मको खुर्सानीहरू खान्छन् । खुर्सानीको पिरोपन नाप्ने एक विशेष एकाइ छ, जसलाई स्केभिल हिट युनिट (एसएचयु) भन्ने गरिन्छ । सात सयसम्म एसएचयू भएको खुर्सानी निरपेक्ष गरिबीको रेखामुनि परेको मान्छेजस्तै पिरोपनका हिसाबले तन्नम मानिन्छ । ७ सय देखि ३ हजार हिट युनिटको खुर्सानी कामचलाउ खर्च धानिरहेको निम्न मध्यम वर्गको मान्छेजस्तो हो, जोसँग पिरो पनि भए–भएजस्तो मात्र हुन्छ नजानिँदो पारामा । त्यस्तै, ३ देखि २५ हजार हिट युटिनको खुर्सानी मध्यम वर्गको मान्छेजस्तो हो, जोसँग पिरोपन पनि मध्यमस्तरमै हुन्छ । उच्च मध्यम वर्गको मान्छे भएजस्तै उच्च मध्यम वर्गको खुर्सानी पनि छ, जसको हिट युनिट २५ देखि ७० हजारसम्म हुन्छ । यी खुर्सानी प्रशस्त पिरा मानिन्छन् । हाम्रा डल्ले, जिरे र ज्यानमारा खुर्सानी यसै वर्गमा पर्छन् । त्यसभन्दा माथिल्लो उच्च पिरो वर्गको खुर्सानी हालसम्म एउटै मात्रै जातको मात्रै पाइएको छ, क्यारोलिना रिपर । सबभन्दा कम पिरो क्यारोलिना पनि ८० हजार हिट युनिटको हुन्छ भने हालसम्म पाइएको सबभन्दा पिरोचाहिँ ३२ लाख हिट युनिटको छ । यो खुर्सानी मुखमा परेपछि पिरो खाने बानी नपरेको मान्छे तुरुन्त लडीबुडी गर्दै छटपटाउन र चिच्याउन थाल्छ । गिनिज बुकले सन् २०१३ मा संसारकै पिरो खुर्सानी भनेर अभिलेख राखेको क्यारोलिनाको सस खाने एक टेलिभिजन कार्यक्रममा गएको वर्ष अमेरिकी गायिका बिली आइलिस पीडाले छटपटाएको दृश्य सामाजिक सञ्जालहरूमा भाइरल हुन पुगेको थियो । पकौडाजस्तो खाने कुरामा एक थोपो क्यारोलिना रिपरको सस हालेर खाएको केही क्षणपछि नै आइलिसको सर्वथा हँसिलो मुहारमा गहिरो छटपटिको अभिव्यक्ति देखिन थालेको युटुब भिडियो हालसम्म ३ करोडभन्दा बढीले हेरेका छन् र यस्तो संख्या बढ्दो छ । सुन्दरी क्यारोलिना छटपटाएको दृश्यले लोकप्रियता बटुलेपछि यस्ता प्रतियोगिताहरू धेरै हुन थालेका छन् र खुर्सानी मुखमा हाल्नेबित्तिकै छटपटाएका सयौं भिडियोहरू युटुबमा भ्युअर्स बटुल्दै छन् ।
यसरी पश्चिमा मुलुकमा पिरोपनका कारण प्रसिद्धि पनि बटुल्न प्रयोग हुन थालेको खुर्सानीको हामीकहाँ भने केही (अन्ध) विश्वाससँग जोडिएका सांस्कृतिक व्यवहारमा सयौं वर्षदेखि प्रयोग हुँदै आएको छ । प्रेत भगाउन भनेर खुर्सानीको धूप हाल्ने चलन यहाँले देख्नुभएकै होला । ट्रक चालकहरूलाई स्टेरिङनजिक कागती र खुर्सानी झुन्ड्याएर हिँड्न कसले सिकाएको होला ? आँखा नलागोस् भनेर गाउँमा किसानहरू दही छिमेकीलाई दिनुपर्दा एउटा रातो खुर्सानी हाल्न बिर्संदैनथे उहिले–उहिले ।
बिस्तारै खुर्सानीसँग जोडिएका यी सांस्कृतिक व्यवहारहरू हराउँदै जान थाले पनि खुर्सानी खाने बानी भने कहिल्यै हराउने छैन । आखिर, इन्डोफिर्mन कसलाई चाहिँदैन ?

विश्वभरका युवाहरुमाझ हालकी लोकप्रिय अमेरिकी गायिका विली आइलिस गत वर्ष एक टेलिभिजन कार्यक्रम ‘हट वान्स’ मा क्यारोलिना रिपर नामको खुर्सानी खाएपछि झन्डै बेहोस भइन् । पीडा सहन नसकेपछि छटपटीपूर्ण उनको भावभंगिमा । 


@bodhighanashyam

कोसेली

छाता

- लक्ष्मी माली

म तिम्रो शिरमाथि
जब हात फैलाउँछु
तिमीलाई घामपानी
गर्मी र शीतबाट
जोगाइरहेको हुन्छु
माया नै मायाले
सिँचिरहेको हुन्छु

जब म
हुरी आँधिबेहरी र
उष्णताबाट प्रताडित हुन्छु
झरी र तुषारोबाट कक्रिन्छु
अनि म
झर्किन्छु, रिसाउँछु, चिच्याउँछु

मेरो झर्काइबाट
मेरो रिसबाट भाग्न
जब तिमीले
मलाई बन्द गर्छौ
मलाई मिल्काइदिन्छौ
तब तिमी मेरो ममता
अनि
सद्भावबाट पनि बन्चित हुन्छौ
समय सधैँ हाम्रो अनुकूल हुँदैन पुताः
यति बुझि राख !
रेशमी कपडाको सप्कोले
घामपानी छेकेर छेकिन्न
हुरीको कुरै छोडौं
अलिकति वेगिलो हावा मात्र चले पनि
रेशमी कपडाको सप्को उडिहाल्छ
अनुकूल वातावरण हुँदा मात्र हो
मुलायम रेशमी सप्कोले
रोमाञ्चित बनाउने
मन्दमन्द हावासँग
पार ताप्दै रमाउन साथ दिने

जब समय तिम्रो प्रतिकूल हुन्छ
सायद त्यतिबेला
तिमीलाई मेरो सम्झना आउला

वरपरको प्रहारहरु थाम्न
दर्केझरीबाट जोगिन
चर्को घाम छेक्न
रेशमी मुलायम सप्कोले सक्दैन भन्ने कुरा
जब थाहा पाउँछौं तिमीले
तब महसुस गरौला मलाई
त्यस बेला सायद
म त बिलाइसकेको पनि हुन्छु
मेरो प्रिय कवि गोविन्द वर्तमानले
भने जस्तै–
‘जब म सकिन्छु
मेरो रिस पनि मसँगै सकिन्छ
मेरो आक्रोश पनि सकिन्छ
मेरो अनुराग पनि सकिन्छ ।’
त्यस्तै
जब तिमीले मलाई
अपहेलना गर्छौ
म मिल्किएको बुझ्छु
जब तिमीले मलाई
अनावश्यक ठान्छौ
अपमान गर्छौ
म सिद्धिएको बुझ्छु

जब म सिद्धिन्छु नि
मेरो रिस मात्र सिद्धिँदैन
मेरो सम्मानको चाहना मात्र सिद्धिँदैन
पुता :
मसँगै तिम्रो बलियो सहारा अनि
तिम्रो ढाल पनि सिद्धिन्छ ।

त्यसैले होसमा आउ
म त छाता हुँ नि
मलाई ससम्मान फैलाऊ
तिम्रो शिरमाथि राख
मलाई ओढ
म हरदम तिमीलाई
छहारी दिइरहेको हुन्छु

तिमीलाई शीतलता दिइरहेको हुन्छु ।
म हुँदाहुँदै
तिम्रो शिरमाथि
कुनै दुष्ट चराले पनि
बिस्ट्याउने आँट गर्न सक्दैन
बुझ म त
छाता हुँ है छाता ।

Page 20
कोसेली

तिमी सकिँदैनौ यार !

- अविनाश श्रेष्ठ

चालीस र पचासको दशकका एक जना समयचेतसहितका चरित्र–नायक जीवन आचार्य (२०१५–२०४६) आफ्नो कवितालेखन र स्तम्भलेखनमा जति दह्राखरा थिए, कोलाज–चित्रहरुमा पनि त्यतिकै सशक्त थिए । अनन्तः सम्भावना बोकेका जीवनको जीवन भने साह्रै संक्षिप्त रह्यो । उनीबारे नजिकका एक जना मित्रको स्मृति–आलेख ।


जीवन, तिमी अविदितको यात्रामा हिँडेको पनि तीस वर्ष नाघिसकेछ । अहिले भएका भए तिमी साठी–एकसठ्ठीका हुने थियौ । कुन्नि कस्ता देखिने थियौ ? कृतिहरू कतिवटा पुग्थे ? तिमी हुनुले नेपालको राजनीति, साहित्य र समाजमा के–कति फरक पर्थ्यो वा पर्दैनथ्यो ?
अर्थोक होस् नहोस्— मलाई एउटा कुरोमा भने पूरापूरा विश्वास छ, तिमी भइदिएको भए एउटा भरोसा गर्न सकिने मित्र रहिरहन्थ्यो मेरा लागि । भाउजू संगीता र दुई अबोध छोरीहरू ऋचा र ऋतुको जिन्दगीका हरफहरू पनि सायद अर्कैअर्कै रङहरूले लेखिँदै जाने थिए ।
तिम्रोबारेमा एउटा संस्मरण लेख्ने निधो मनमनै गरें । र, एक दिन लेख्न भनी बसें । त्यसपछि साँच्चिकै झस्कें म । जिन्दगीको कुदाकुद, भागाभाग र आफू बाँच्ने, परिवार बँचाउने संघर्षमा मैले तिमीलाई धेरै पछाडिको कुनै अँध्यारो कुइनेटोमा, बिर्साइको अन्ध मोडमा छोडेर बेपत्तासँग एक्लै आफू मात्रै अगाडि लम्कँदै गएछु । कति स्वार्थी बनेछु म । यी बितेका वर्षहरूमा यदाकदा तिम्रा कविताहरूलाई सुमसुम्याएँ हुँला, पढेर स्वाद लिए हुँला, आफू सम्पादक भएको कुनै सामूहिक कविता संकलनमा तिम्रा कविताहरू संगृहीत पनि गरें हुँला तर सत्य भन्छु, तिमीलाई गहिरिएर वा चुर्लुम्मै डुबेर मैले सम्झनामा उतारेको सम्झना छैन म आफैंलाई ।
तिम्राबारेमा केही न केही लेख्ने मनमनै अठोट गरेपछि भने तिमीलाई निकै सम्झिरहेको छु । बितेका पन्ध्र–बीस दिन तिमीलाई फेरि खोज्न र खोतल्नमै बितेका छन् । तिमीसितको पहिलो भेट र चिनजान अनि तिमीसित सक्रिय साथित्व र आत्मीयता प्रगाढ बन्दै गएका ती रमाइला दिनहरूका दसी–प्रमाण खोज्न पुराना डायरीका पानाहरू उधिनें । स्मृतिहरूलाई खोतलखातल पारिरहें । जे जति फेला पारें, सम्झिन सकें— ती यादहरूलाई छोटकरीमा बयान गर्ने प्रयास गरेको छु । तर यी सुसंबद्ध र सिलसिलेवार भने छैनन् । तिमीले बनाउने गरेका ‘कोलाज चित्र’ मा अखबारका कटिङ्स, फोटोग्राफ्स, चुरोटका बट्टा, मयूरपंख र यस्तै अन्य जिनिसहरूलाई असंबद्ध ढंगबाट टाँसेर रङ र कुचीको समेत प्रयोग गरेर तिमीबाट जुन एउटा नौलो अर्थ र संरचना बोकेको कृति विनिर्मित हुने गर्थ्यो, अहिले म तिम्रा तिनै ‘कोलाज चित्र’लाई सम्झिरहेको छु अनि तिनैको सिको गर्दै असम्बद्ध ढंगबाट आफ्ना यादलाई शब्दबद्ध गर्न जुटेको छु ।

तिमी मनिर आयौ र भन्यौ, ‘अविनाशजी, म जीवन आचार्य ।’ हामीले हात मिलाउँदै एकअर्कालाई हेर्‍यौं गहिरिएर । तिम्रो सबैभन्दा पहिलो कुरो जसले मलाई भित्र कतै सुमसुम्याएर आश्वस्त तुल्याए— ती थिए तिम्रा झर्लक्क परेका ठूल्ठूला दुई आँखा । ती आँखा मानौं मलाई जोखिरहेका थिए— मित्रताका निम्ति यो उपयुक्त पात्र हो होइन ? एकैछिनको कुराकानीपछि हामी दुवै पुराना परिचितझैं बनेका थियौं ।
कुरै कुरामा मैले भनेको थिएँ, ‘म भोलि पोखरा जाँदै छु, जीवनजी । अनि उतैबाट नौतुनवा–गोरखपुर हुँदै बनारस पुग्नेछु । केही पुस्तक छपाउनु छ । एउटा वार्षिक पत्रिका पनि । बरु पत्रिकाका लागि तपाईंको एउटा कविता पाउन पाए मलाई खुसी लाग्ने थियो ।’
तिमीले भन्यौ, ‘कविता त एउटै छैन । भएजतिका कविता जोरजाम गरेर भर्खरै एउटा कवितासंग्रह प्रकाशित भएको छ । यहीं नजिकै मेरो डेरा छ । हिँड्नोस् जाऊँ । मेरो कवितासंग्रह पनि दिउँला, डेरा पनि हेर्नुहोला ।’
तिम्रो बोलीमा कुन्नि के थियो— तिमीसित हिँड्न म तत्काल राजी भएँ ।
विसं २०४१ को कुरो हो यो ।
काठमाडौंमा म बिल्कुलै नयाँ थिएँ ती दिनहरूमा । धेरैजसो बाटाघाटा र ठाउँहरू बिराना थिए मेरा लागि । तर मलाई अझ पनि टड्कारो सम्झना छ— त्यस दिन तिमीले मलाई रामशाहपथ, सिंहदरबारअगाडिबाट हिँडाउँदै थापाथली पुर्‍याएका थियौ । अनि थापाथलीको वाग्मती पुल तरेर हामी कुपण्डोलतिर मोडिएका थियौं । अर्थात् ती दिनहरूमा तिमी कुपण्डोलमा डेरा गरी बस्थ्यौ । (सिंहदरबार पर्खालसँगैको डेराघरमा सायद पछि सरेका थियौ ।) मलाई अझै रिमरिम सम्झना छ, त्यस दिनको— दुब्ली–पातली तर हिसी परेको भद्र मुहार भएकी संगीता भाउजूसित तिमीले त्यहीं चिनजान गराएका थियौ । भाउजूको काखमा थिइन् कलिली छोरी ऋचा ।
अहिले त्यो तिमीसित परिचय भएको पहिलो दिन सम्झँदा सबैभन्दा बढी कुन कुरोले मलाई विभोर तुल्याइरहेको छ भने पहिलो भेटमै निसंकोच उदात्तताका साथ तिमीले
आफ्नो डेराघरमा, आफ्नो बासस्थानमा लगेका थियौ मलाई । आफ्नो परिवार र हैसियत चिनाएका थियौ ।
मसित आज काठमाडौं महानगरीको छत्तीस–सैंतीस वर्ष लामो (कटु) अनुभव छ हृदयभरि । यहाँ (काठमाडौं) का धेरैजसो साथी–भाइहरूको समस्या के भने उनीहरू सितिमिति कसैलाई आफ्नो घरमा त लाँदैनन्, लाँदैनन्— आफ्नो मनमा पनि प्रवेश दिन उति रुचाउँदैनन् । मनमै प्रवेश निषिद्ध गरेपछि त सक्किगो नि सामीप्यताका, निकटताका कुनै संस्मरण एकअर्काको हृदयपटमा बन्नै पाउँदैनन् । अनि कालान्तरमा संस्मरण खोतल्दा— ओल्लो छेउदेखि पल्लो किनार चहार्दा पनि संस्मरणको कच्चापदार्थ भेट्नु दुर्लभ बन्छ । तर तिमी कति सहज थियौ जीवन, आफ्नो मनमा, जीवनमा कति सहजै प्रवेश दिएका थियौ । स्वागत, सत्कार र न्यानो आफ्नोपन दिएर एकै दिनमा आफ्नो हृदयको नजिक पुर्‍याएका थियौ मलाई ।
त्यसपछि म काठमाडौंको रस–माधुर्यमा भिज्दै गएँ । काठमाडौंको रङमा रंगिँदै जान थालें । तिमीसित पनि यदाकदा कार्यक्रमहरूमा भेट भइरहन्थ्यो । तिमी खुल्दै जाँदै थियौ मसित । म तिमीसित खुल्ने क्रम जारी थियो । यसैबीच त्रिभुवन विश्वविद्यालयको सहायक डिनको कार्यालय, कीर्तिपुरमा कार्यरत कवि–कथाकार विधान आचार्य र ल क्याम्पस, भृकुटीमण्डपमा प्राध्यापन गर्ने कवि राजेन्द्र शलभसित पनि निकट हुने अवसर मलाई जुरेको थियो । तिनताक विधानजी र शलभको सक्रियतामा ‘गोष्ठी, नेपाल’ नामक संस्थाले कुनै न कुनै कार्यक्रम निरन्तरजसो आयोजना गरिरहेको हुन्थ्यो । ती कार्यक्रमहरूमा म नबिराई उपस्थित भइरहन्थें । ‘गोष्ठी, नेपाल’ का त्यस्ता कार्यक्रमहरूमा तिम्रो पनि सक्रिय सहभागिता हुने गरेको देख्थें । त्यो विसं २०४१–०४२ तिरको समय थियो । ‘गोष्ठी, नेपाल’ का केही कार्यक्रमहरूमा सहभागी भएपछि तिमी र गोविन्द गिरी प्रेरणा पनि त्यस संस्थामा आबद्ध रहेको थाहा भएको थियो मलाई ।
‘सिर्जनशील साहित्य समाज’ (सिसास) र ‘साहित्यिक पत्रकार संघ, नेपाल’ त्यस कालखण्डका काठमाडौंमा साहित्यिक कार्यक्रमहरू निरन्तर आयोजना गरिरहने ठूला संस्था थिए । तर विधान, शलभ, गोविन्द गिरी र तिमी सम्मिलित ‘गोष्ठी, नेपाल’ पनि निकै सक्रिय थियो ती दिनहरूमा । झापाबाट काठमाडौं कविता सुनाउन आएका नौ जना कविहरूको सम्मानमा रात्रिभोजको आयोजना, कवि गगन विरहीको कवितासंग्रह ‘उही घाम, उही जून’ को विमोचन समारोह, मदन पुरस्कार विजेता मोहनराज शर्माको अभिनन्दन, विराटनगरबाट राजधानी आएका एक जोडी साहित्यिक दम्पतीको स्वागतमा गरिएको कार्यक्रम आदि मैले अहिले सम्झन सकेका ‘गोष्ठी, नेपाल’ ले विसं २०४१–०४२ तिर आयोजना गरेका महत्त्वपूर्ण कार्यक्रमहरू थिए । यिनै कार्यक्रमहरूकै सेरोफेरोमा तिम्रो र मेरो मित्रता झ्यांगिँदै जान थालेको थियो जीवन ।

तिमीलाई डेरा देखाउने हतारो थियो । आफू चिनिने हतारो थियो । आफ्नो परिवार चिनाउने हतारो थियो । आफ्नो काम (संसारलाई) चिनाउने हतारो थियो । तिमी सबथोक छिटछिटो गरिरहेका थियौ जीवन । ‘तपाईं’ बाट ‘तिमी’ मा झर्न तिमीले तीन महिना पनि पर्खेनौ । एक दिन भन्यौ, ‘केको तपाईं–तपाईंको फर्म्यालिटी यार ! ‘तिमी’ भनौं एकअर्कालाई । आत्मीयता बढ्छ । मनको अझ नजिक–नजिक भइन्छ ।’ यसरी हामी दुवै तीन महिनामै ‘तिमी’ भयौ एकअर्काका लागि ।
अरूले दस वर्ष लगाएर बाँचेको तिमी एक वर्ष, एक महिना, अझ एक दिनमा संक्षेपीकरण गर्न उद्यत थियो । मानौं भोलि नै संसार सकिने पो हो कि जस्तो जल्दीबाजी । सबै कामकुरो हतारमा सक्ने–सिध्याउने उखरमाउलो । नभन्दै तिम्रा दिनहरू छिटछिटो सकिँदै थिए । त्यसको संकेत तिम्रो शरीरले तिमीलाई दिन थालिसकेको थियो ।
तिमी छिटछिटो खोच्याउँदै मेरो डेरामा भित्रिन्थ्यौ । ओछ्यानमा सँगै बस्न आइपुग्थ्यौ । मेरो हात लगेर आफ्नो करङको दायाँपट्टि टाँस्थ्यौ र बेपर्बाह हाँस्दै बोल्थ्यौ, ‘ल हेर यार, मेरो मुटुले कसरी बुर्कुसी मार्दै छ ।’ म भने तिम्रो करङनिर हात टँसाउँदा बेपत्तासित अत्तालिन्थें । त्यहाँ करङको हाड नै थिएन सायद । पातलो छालालाई मुटुको ढुकढुकी र उफ्राइले घोच्न आएजस्तो मुटुको असामान्य चाल प्रस्ट थाहा पाइने । साह्रै अत्यासलाग्दो हुन्थ्यो तिम्रो दायाँ करङलाई हत्केलाले छोएको त्यो क्षण । तिमी भने मुटुको चाल असामान्य भएको दिन त्यसरी नै मेरो हात समातेर
आफ्नो छातीको बायाँतिर छुन कर गर्थ्यौ । म ती क्षणहरू सम्झँदा आज पनि भयभीत बनी अतालिन्छु । तर ती दिनहरूमा तिमी भने
आफ्नो आसन्न मृत्युसित ठट्टा गर्दै जिस्किरहेको जस्तो लाग्थ्यो । तिमी आफ्नो मृत्युको डर अरूका आँखामा उकासिएको देख्थ्यौ र नाथे मृत्युको अवमानना गर्दै झन्–झन् उद्दण्ड बन्दै जाँदै छौ जस्तो लाग्थ्यो मलाई ती दिनहरूमा ।
सायद त्यो तिम्रो तीव्र रोष र अप्रसन्नताको अभिव्यक्ति थियो— आफ्नो निर्माता प्रकृति (परमेश्वर) का विरुद्ध ।
अप्रसन्नता, आक्रोश र गुनासो पनि किन नहोस् त प्रकृतिसित !
प्रकृतिले त तिमीलाई दोहोर्‍याएर दण्ड दिएकी थिइन्— जन्मजात रोगी मुटु थमाएर, अनि एउटा खुट्टो लुलो लंगडो बनाएर ।
पोलियोग्रस्त बायाँ खुट्टोको कारण तिम्रो हिँडाइ पनि असामान्य थियो । तर पनि तिमी जोधाहा थियौ । दह्रो थियौ, बेपर्बाह थियौ— संसार, समाज र प्रकृतिलाई बूढीऔंला देखाउँदै । मानौं भनिरहेका छौ, ‘ईऽऽऽस तेरो दण्ड ! ईऽऽऽस मलाई दुर्बल देखाउने तेरो निम्छरो षड्यन्त्र !’
तिमी विचलित थिएनौ जीवन । त्यति हुँदा पनि तिमीलाई कहिल्यै कुण्ठित देखिनँ । धरमरिएको देखिनँ । सधैं सिंहको हिँडाइ । सिंहको चाल । तर तिमी आफ्नो शरीरको प्राकृतिक कमी र त्यसले कुनै पनि समय निम्त्याउन सक्ने दुष्परिणामबारे अञ्जान भने थिएनौ । बरु थियौ सचेत र तम्तयार त्यस आसन्न ‘अलच्छिन’ लाई सामना गर्न ।
तिम्रो आवाजमा भएको त्यो स्थिरता र त्यो ठहराव अनि एक किसिमको घोर्लेपन भनौं कि भालेपन भनौं वा भनौं दर्बिलो दबंगपन— आज पनि मेरा कानले बिर्सन सकेका छैनन् । तिम्रो बोल्ने शैली र आवाजमा भएको त्यो कालजयी स्थिरता अनि ओजिलोपनले मलाई सिलगडीका मेरा पैंतालीसौं वर्ष पुराना कवि–कथाकार मित्र ज्ञानेन्द्र खतिवडाको उस्तैउस्तै झल्को दिने घोर्ले भाले आवाजको सम्झना भइरहन्छ ।

कवि केदारमान व्यथितलाई विसं २०४३ मा बनारसको गौदौलिया चोकस्थित एउटा धर्मशालामा भेट्न जाँदा मसित उहाँको पहिलो प्रश्न थियो, ‘तपाईंले...तपाईंको जीवन आचार्यलाई भेटेको छ ? नयाँ कवि हो । एकदमै प्रखर छ ऊ...तपाईंको । अहिलेको दह्रोखरो कवि उही हो । नेपाली साहित्यको...तपाईंको प्रतिनिधि पात्र भनिदिँदा पनि हुन्छ उसलाई ।’
‘कति गहिरो प्रभाव र छाप छाडेछौ यार तिमीले बूढा पञ्च केदारमान व्यथितमाथि । उनी त तिम्रा प्रवक्ता बनेर पो बोलिरहेका थिए ।’ बनारसबाट फर्केपछि एक दिन ठट्टा गर्दै तिमीलाई सुनाएँ । तिमीले व्यथितलाई बाल नदिएझैं मेरो कुरोको प्रत्युत्तरमा हाँस्दै भनेका थियौ, ‘अँ, अरूले पनि सुनाउँछन् । बूढालाई मैले तलब दिएर राखेजत्तिकै भएको छ यार ।’
तर साथीहरू तिम्रो र कवि व्यथितको निकटतालाई विपर्यास–बिब्ल्याँटो सम्बन्ध मान्थे र तिमीलाई उडाउनु उडाउँथे । कहाँ प्रजातन्त्रको प्रखर समर्थक जीवन आचार्य ? अनि कहाँ मक्किँदै गइरहेको क्रूर पञ्चायती व्यवस्थाका पृष्ठपोषक केदारमान व्यथित !!
साथीहरू तिमीलाई व्यथितको नाम लिएर खिप्नु खिप्थे । (तिम्रै प्यारो शब्द सापटी लिए है जीवन ।) अनि तिमी असहाय–निरूपाय बनेर बटारिन्थ्यौ । खिस्रिकिन्थ्यौ । मुख अँध्यारो पार्थ्यौ । कहिलेकतै भने खिप्नेहरूमाथि नै झम्टिँदै जाइलाग्थ्यौ, ‘मलाई व्यथितको राजनीतिले भात खान दिएको छैन बुझ्यौ । व्यथितजीभित्रको प्रौढ, क्रान्तिसचेत कविलाई मैले मान्न किन नहुने ?’

२०४४ सालको अन्त्यतिर एमएको पढाइ सकेर कान्ति ब्यायज होस्टल, कीर्तिपुरबाट म बागबजार डेरा सरें । ती दिनहरूमा म नाटक र टेलिफिल्मको दुनियाँमा स्पेस बनाउन संघर्ष गर्दै थिएँ । तिमी भने आफ्नै निजी कामको चाँजोपाँजो मिलाउने तरखरमा एकोहोरिएका थियौ । सायद त्यही छेक हुनुपर्छ तिम्रो कान्छो भाइ टंक तिमीलाई सघाउन काठमाडौं आई तिमीसित बस्न थालेको पनि ।
२०४५ साल भर्खरै थालिएको थियो ।
तिमी ‘डिजाइन राइटर’ स्थापनाका लागि उपयुक्त थलोको खोजीमा थियौ । मेरै डेराछेउमा एउटा घर फेलापर्‍यो । एक–दुई दिनभित्रै ‘डिजाइन राइटर’ त्यस घरमा सारेका थियौ तिमीले । र, ध्रुव तन्डुकारको घरको त्यही दोस्रो तला नै तिम्रो अन्तिम समयसम्मको सक्रिय कर्मथलो बन्न पुग्यो । ‘डिजाइन राइटर’, जसका झ्यालहरू बागबजारको मुख्य सडकतिर खोलिन्थे तर प्रवेश गर्न भने पछाडिपट्टिको बाटो र भर्‍याङ प्रयोग गर्नुपर्थ्यो ।
‘डिजाइन राइटर’ तिम्रो वर्कसप मात्र थिएन, त्यो त त्यसबेलाका भरभराउँदा कवि–लेखक, पत्रकार, कलाकार र कलाप्रेमीहरूको जमघट हुने थलोमा परिणत हुँदै गएको थियो । त्यहाँ दिउँसोतिर जाँदा भीडभाड हुने गरेको देख्थें । आज सम्झँदा ‘डिजाइन राइटर’ को त्यो भीड साँच्चिकै लोभलाग्दो थियो । त्यहाँ सशरीर उपस्थित हुने गर्थे— केदारमान व्यथित, ईश्वरवल्लभ, किशोर नेपाल, शिव अधिकारी, विष्णु विभु घिमिरे, सीता पाण्डे, शैलेश आचार्य, राजेन्द्र शलभ, विधान आचार्य, रमण घिमिरे, रविन नेपाली, सुनील पोखरेल, सरोज खनाल अनि कहिलेकतै सूर्यमाला र निशा शर्मा आदि आदि । (नामको यो सूची धेरै तन्काउन सकिन्छ । मैले माथि केही प्रतिनिधि नाम मात्र दिन खोजेको हुँ ।)
‘डिजाइन राइटर’ को झ्यालबाट पारिपट्टि केही पर पश्चिम–दक्षिणतर्फ विस्तृत रूपमा अवस्थित पद्मकन्या क्याम्पस देखा पर्थ्यो । बागबजार मूल सडकमा गेरुवस्त्रधारी
पद्मकन्याका छात्राहरूको घुइँचो र ओहोरदोहोरले त्यहाँको वातावरणको रौनक र शान नै बढाइदिएको अनुभूत गर्न सकिन्थ्यो । कवि दाइ ईश्वरवल्लभ डिजाइन राइटरमा प्रायः आइरहनेमध्ये पर्नुहुन्थ्यो । र, उहाँ आएपछि बागबजार मूल सडकतिर खुल्ने झ्यालमा घण्टौं उभिएर बाहिरका गतिविधिहरू नियाल्नमा तल्लीन बन्नुहुन्थ्यो । तिमी वल्लभ दाइसित कतिविधि झ्याम्मिएका थियौ भने उहाँजस्तो अन्तर्मुखी स्वभावको व्यक्तिलाई धरी कायल पार्ने कटाक्ष गर्नबाट चुक्दैनथ्यौ । तिमी ठट्टैठट्टामा कति सजिलै भनिदिन्थ्यौ, ‘वल्लभ दाजुलाई कसैले डिस्टर्ब नगर्नू । उहाँ लामो कविता लेख्न गेरु रङमा डुबेर रिसर्च गर्दै हुनुहुन्छ ।’ वल्लभ दाइ पनि के कम, तिमीलाई फर्केर फिका हाँसोसहित बोल्नुहुन्थ्यो, ‘ह्या मुला !, तिमी नै बरु मनमनै गेरु रङवालीहरूसित पिकनिक खाँदै हौला मुला ।’
त्यसपछि तिमी र वल्लभ दाइमाझ व्यंग्य–कटाक्ष–घोचपेचको जुहारी चल्थ्यो त्यहाँ केही बेर । प्रायः कुनै निष्कर्षबिना नै बीचैमा सेलाएर सकिन्थे त्यस्ता दुर्लभ दोहोरीहरू ।

एकाबिहानै तिमी मेरो डेराको ढोका ढकढकाउन आइपुग्थ्यौ । अनि म आश्वस्त हुन्थें— आज आइतबार नै हो । नभन्दै ‘देशान्तर साप्ताहिक’ च्यापेर निकै रमाइलो मुडमा तिमी कोठामा छिर्थ्यौ । तिम्रो स्तम्भलेख हामी दुवैले सँगसँगै पढ्थ्यौं खाटमा बसेर । अनि सोध्थ्यौ, ‘कस्तो छ यार ?’
प्रायः बिहीबार वा शुक्रबारको बिहान पनि यस्तै–यस्तै हुने गर्थ्यो । ‘देशान्तर साप्ताहिक’ मा बुझाउनुभन्दा पहिले तिम्रो सुन्दर हस्तलिपिमा लेखिएको ‘अर्थात्’ स्तम्भलेख तिमी पढेर सुनाउने गर्थ्यौ । अनि उही नांगो प्रश्न ‘कस्तो छ यार ?’
डेराघरमुनि सञ्चालित थियो घरधनी साहुको खाजाघर । त्यहाँ साहुजीका बुहारीहरू बाबा भाउजू र बिजु भाउजू एकाबिहानैदेखि ठूल्ठूला केरोसिन स्टोभहरूको चर्को भ्यारभ्यार आवाजमाझ पकाइरहेका हुन्थे— मालपुवा, सेल, आलु–चनाको तरकारी र तात्तालो मसालेदार मीठो दूधचिया । जीवन, तिमी ती मालपुवा, आलुचना र मसला चियाका एक नम्बरको पारखी थियौ । मेरो डेराबाट तिमी र म तल झर्थ्यौं र खाजाघरमा अड्डा जमाउँथ्यौं । अनि कहिलेकतै त्यहीं जम्न आइपुग्थे रमण घिमिरे भाइ, रवीन नेपाली, शिव अधिकारी, शैलेश आचार्य र केदारनाथ शर्माहरू ।
ती ‘डिजाइन राइटर’ का सक्रिय दिनहरू थिए तिम्रा । आज जुन काम कम्प्युटरले गर्छ त्यस्ता पत्रिका, ब्रोसर, पम्प्लेट आदिका ले–आउट, पेस्टिङ र डिजाइनका काम तिमीले मेनुवल्ली गर्ने गरेको सम्झँदा आज विचित्रको अनुभव हुन्छ मलाई ।
फेरि ‘अर्थात्’ कै प्रसंगमा केही थप कुरा ।
‘देशान्तर साप्ताहिक’ मा हरेक हप्ता नबिराई प्रकाशित हुने तिम्रो ‘अर्थात्’ स्तम्भआलेख निकै चर्चामा थियो । बेलाबेला विवाद निम्त्याउने कुराहरू पनि तिमीले लेख्यौ । विवाद भइरहे । तिमीले विवादलाई बूढीऔंला देखायौ । अरूले गर्नै नचाहने वा गर्न हच्किने विवादास्पद राजनीतिक मुद्दामाथि तिमीले कतै उडाउँदै टिप्पणी गर्‍र्यौ, कतै झ्वाम्म मुटुमै रोपिने खालको कटु कटाक्ष लेख्यौ, कतै तीमाथि व्यंग्यको बहुअर्थी वाण चलायौ । कहिलेकतै तिमीले पञ्चायती व्यवस्था र पञ्चायती शूरवीरहरूमाथि गरेको खरो आलोचना पढ्दा मेरो मन सिरिंग–सिरिंग हुन्थ्यो । तिमीलाई भन्थें, ‘डर लाग्दैन तिमीलाई ? शत्रुहरू तिम्रो छेउछाउमै छन् नि !’ तर तिमी रत्तीभर विचलित देखिन्नथ्यौ । मलाई भने तिम्रो लागि डर लागिरहन्थ्यो ।
‘अर्थात्’ तिमीले प्रायः घरमै लेख्ने
गर्थ्यौ क्यार ! तर कहिलेकतै ‘अर्थात्’ स्तम्भ बुझाउने मिति नजिकिँदा डिजाइन राइटरमै बसेर पनि घोत्लिरहेका भेटिन्थ्यौ । त्यस्तो बेलामा पुग्दा आधा–अधुरो जे लेखिएको छ त्यो तिमी सुनाउँथ्यौ र सोध्थ्यौ, ‘यो थिममा लेख्दा कस्तो होला यार ?’
तिम्रो लेखोटको खेस्रा पढेर वा सुनेर आफ्नो सामर्थ्यअनुसार मन्तव्य दिने गर्थें । मलाई थाहा थियो तिमी यसरी नै रमण घिमिरे, रवीन नेपाली, मित्रसेन दाहाल, शलभ, विधानजीहरूलाई पनि अवसर परेका बेला ‘अर्थात्’ स्तम्भका लागि लेखिएका खेस्रा ‘देशान्तर’ मा बुझाउनुअघि सुनाएर सल्लाह सुझावको अपेक्षा राख्थ्यौ । र, अन्तिम क्षणसम्म संशोधन–परिमार्जन गरिरहन्थ्यौ
आफ्नो लेखोटलाई ।
कहिलेकाहीं ‘अर्थात्’ मा लेख्नका लागि सटीक विषय वा मुद्दा नभेट्दा तिमी छटपटिइरहेका पनि फेला पर्थ्यौ । त्यस्ता क्षणमा प्याच्च भनिदिन्थें, ‘जीवन, माइन्ड नगर यार, तिम्रो कविलाई ‘अर्थात्’ ले खति गर्दै छ है ।’ तिमी तत्काल धारिलो प्रतिक्रिया प्रहार गरिहाल्थ्यौ, ‘तिमीलाई त्यस्तो लागेको हो । ‘अर्थात्’ ले कवि जीवन आचार्यलाई फराकिलो पाठक–संसारमा पुर्‍याएको छ । तिमी बुझ्दैनौ यार, भैगो छाड !’
यस्तै एकपटक बिहान–बिहान तिमी पुलकित मुद्रामा डेरामा आयौ । तिम्रो हातमा ‘देशान्तर साप्ताहिक’ मा बुझाउन तयार पारेको ‘अर्थात्’ को आलेख थियो । तिमीले सुनाउँदै गयौ, विषय र शीर्षक अहिले सम्झन सकिनँ । मैले गम्भीरतापूर्वक सुनें तर प्रतिक्रिया दिइनँ । मौन बसिरहें ।
‘कस्तो लाग्यो भन त यार ?’ सधैंझैं तिम्रो उही जिज्ञासु आतुरता ।
‘खै के भनूँ यार...’
‘होइन, भन न भन...’ तिमीले ढिपी
कसिरह्यौ ।
अन्ततः मैले नबोली सुख पाइनँ । र भनिदिएँ, यसपालिको तिम्रो लेखाइ जमेको छैन । मलाई त ताइँ न तुइँको लाग्यो है जीवन !’ मेरो कुरो सुनेपछि केही नबोली तिमी जुरुक्क उठेर हिँडिहाल्यौ । मलाई लाग्यो तिमीलाई मेरो खरो प्रतिक्रिया मन परेन । दुई–तीन दिन जति म तिमीलाई खोज्न गइनँ । तिमी पनि मलाई खोज्दै अएनौ । आइतबार ‘देशान्तर’ किनेर ल्याएँ । तिम्रो आलेख यथावत् प्रकाशित भएको पाएँ । एकदुई दिनपछि तिमी मलाई भेट्न डेरामा आइपुग्यौ र बस्दै भन्यौ भूमिका नबाँधी, ‘सायद तिमीले ठीकै भनेका थियौ यार । अरूले पनि भनिरहेका छन् ‘अर्थात्’ यसपालि उति जम्न सकेन ।’
यो तिम्रो स्वभाव थियो जीवन, प्रतिक्रिया सहजतासाथ सकार्ने, मनमा मयल नराख्ने उदात्त स्वभाव !

तिम्रोबारेमा धेरै थोक बर्बराइसकें ।
अब तिम्रा कविताबारे आफूलाई लागेका कुरा अति संक्षेपमा भन्नेछु ।
कविता लेखनको तिम्रो अनौपचारिक शैली मलाई औधी मन पर्छ । तिमीजस्तो हक्की र पारदर्शी थियौ— तिम्रा कविता पनि त्यस्तै शूरा र दह्रा छन् । तिम्रा कविता आफूलाई भन्न मन लागेको कुरा प्वाक्क भनिहाल्छन् । तिनलाई कसैको डर–भय पटक्कै छैन । तिम्रा दुवै कविता–किताब ‘जीवनका धुनहरू’, ‘अन्तहीन शुरुवात’ र स्तम्भ–लेखको किताब ‘अर्थात्’ले तिमीलाई नेपाली साहित्यमा सधैं बँचाइराख्नेछन् । तिमीले आफ्नो जीवनको अन्तिम पछौटोतिर लेखेका कविता हुन्— ‘डायनोसर’ र ‘किस्ने’ आदि । ‘किस्ने’ कविता लेखिसकेपछि तिमी अति खुसी भएका थियौ । वैशाख ०४६ सुरुका दिनहरूमध्ये कुनै एक दिन साँझ डेरामा लगेर तिमीले यो कविता सुनाउँदा म साँच्चिकै अभिभूत बनेको थिएँ । त्यस रात तिम्रो डेरामै बस्न तिमीले मलाई कर गरेका थियौ । यसरी एउटा उत्कृष्ट कविता तिमीले लेखेको खुसियालीमा उत्सवमय बनेको थियो त्यो रात !
तिनताक ‘मधुपर्क’ को प्रधान सम्पादक कृष्णभक्त श्रेष्ठ दाइ हुनुहुन्थ्यो र उहाँकै आग्रहमा मैले ‘नेपालबाहिरका नेपाली साहित्यकार’ स्तम्भअन्तर्गत लेख्न सुरु गरेको थिएँ । मेरो स्तम्भलेख ‘मधुपर्क’ मा बुझाउन जाने दिन सल्लाह मिलाएर तिमी र म ‘गोरखापत्र संस्थान’ को अड्डा नयाँ सडक पुगेका थियौं । कृष्णभक्त दाइले कविता तिम्रै मुखबाट सुन्न चाहनुभयो । तिमीले कवितावाचन गरिसकेपछि दाइले प्रसन्न मुद्रामा भन्नुभएको सम्झन्छु, ‘कविता साँच्चिकै राम्रो छ । तर ‘किस्ने’ शीर्षकले कविताको ओजलाई धान्छजस्तो मलाई लागेन । कविताको शीर्षक फेर्न सुझाव छ कविजीलाई ।’
नभन्दै तिम्रो कविता ‘कर्मण्येवाधिकारस्ते...’ शीर्षकमा ‘मधुपर्क’ को असार २०४६ को अंकमा प्रकाशित भएर आयो । तर कत्रो विडम्बना ! आफ्नो उत्कृष्ट कविता ‘मधुपर्क’ मा प्रकाशित भएको भने तिमीले नै देख्न–पढ्न पाएनौ जीवन ।

बागबजारमा ‘डिजाइन राइटर’ को स्थापना गरेपछिका दिनहरूमा तिम्रो अन्तर्यलाई गहररी बुझ्ने अवसरहरू मैले पाइरहें । तिम्रो खुसी, तिम्रा वेदना, तिम्रो श्रम, तिम्रा आँसु र तिम्रा पीडाको नजिकको साक्षी बन्न नै समयले मलाई त्यहाँ बागबजारको त्यस डेरामा पुर्‍याएको रहेछ जस्तो लागिरहन्छ । ती दिनका घटनाक्रमहरूले तिमी र मलाई भावात्मक रूपमा धेरै नै नजिक बनाइदिएको थियो । फलतः तिम्रो डेरामा कतिपटक गइयो, कतिपटक खाइयो, कति रात बास बसियो— त्यसको कुनै लेखाजोखा छैन ।
बेलाबेला टंक भाइलाई ‘डिजाइन राइटर’ जिम्मा लगाएर तिमी मेरो डेरामा सुटुक्क आइपुग्थ्यौ । आफ्नो साह्रो–गाह्रोहरू सुनाउँथ्यौ । कहिलेकतै दिउँसोको खाजा खान तिमी र म बागबजारका गल्लीहरू भित्रभित्रै लुक्दैछिप्दै हिँडेर रत्नपार्क गणेशथानछेउको प्रख्यात ‘रिमझिम भोजनालय’ सम्म पुगिरहेका हुन्थ्यौं भने कहिले खसीबजारतिरको दमककी आमैको खाजाघरमा जम्न पुग्थ्यौं ।
यस्तैमा चैत १६ गते (२०४५) बुधबारको त्यो दिन पनि आइपुग्यो । अस्ट्रेलियाबाट मुटुरोग विशेषज्ञ डक्टरहरूको डफ्फा वीर अस्पताल आएको जानकारी पाएर तिमी
आफ्नो मुटु जँचाउन गएका थियौ । सूक्ष्मतापूर्वक जाँचेर अस्ट्रेलियाली विशेषज्ञ चिकित्सकले तिमीलाई भनेछन्, ‘तिमीसित अब पुग नपुग एक वर्षको समय छ । तुरुन्त भारत गएर मुटुको सर्जरी गराइहाल ।’
त्यस साँझ तिमी कति निरीह देखिएका थियौ । बोल्दाबोल्दै तिम्रा आँखाबाट आँसुका ढिक्का खसेका थिए । आफूलाई केही भइहाल्यो भने आफ्ना लालबालाको बिचल्ली हुने कल्पनाले एक्कै छिन तिमी कहाल्लिएर कातर बनेका थियौ । सायद खर्चको रकम जोहोको कुरो थियो । अन्य कुराहरू पनि हुँदा हुन् सायद । तर केही छिनपछि नै तिमी निस्फिक्री देखिएका थियौ । त्यस धमिलो साँझमा पर रामशाहपथको पुरातत्त्व विभागको मोडसम्म तिमीलाई पुर्‍याएर भारी मनसहित म फर्केको थिएँ ।
सबै कामकुरो सामान्य ढंगबाट चलिरहेको थियो । अनिष्टको कुनै संकेत परपरसम्मन् थिएन । तिमी सधैं नियमित तालिकाअनुसारै ‘डिजाइन राइटर’ आउने–जाने गरिरहेका थियौं ।
अस्ट्रेलियाली कार्डियालजिस्टहरूको चेतावनीपछि भने तिमी दिन गनिरहेका भेटिन्थ्यौ । भन्थ्यौ, ‘अझ एघार महिना दस दिन बाँकी छ यार ! केही न केही त गरिहालिन्छ ।’
तर समय तिमीलाई अवसर दिनेभन्दा पनि झुक्याउने खेलमा लागेको तिमीले पत्तै
पाउन सकेनौ ।

जुन दिन त्यो अविश्वसनीय अनर्थकारी घटना घट्नु थिया, त्यसको एक दिनअघि पनि तिमी काममा उसरी नै जोतिएको देखेको थिएँ । दिउँसोपख तिमीले खुस्रुक्क भनेका थियौ, ‘आज रोटी खाने मन छ यार । भरे रिमझिम भोजनालय जाने ल !’
र हामी त्यो साँझ रिमझिम गयौं ।
सामान्य ढंगले रोटी–तरकारी खायौं ।
सधैंझैं मैले तिमीलाई पुतलीसडक रामशाहपथ हुँदै पुरातत्त्व विभागछेउको बाटोबाट तिम्रो डेराघरको ढोकैसम्म पुर्‍याएर फर्कें । असामान्य केही पनि लागेको थिएन ।
सबथोक नियमित र साबिकबमोजिम नै भएझैं भान परेको थियो मलाई ।
त्यो अलच्छिना बिहानलाई म कसरी
बिर्सन सक्छु !
बिहान चार बजेतिर डेराअगाडिको करिडोरमा कोही हडबडिँदै कुद्दै–दगुर्दै आएको जुत्ताको चर्को आवाजले मेरो निद्रा बिथोलिएर ब्युँझिसकेको हुन्छु । हतासिएको–अत्तालिएको आवाजमा दैलो पिट्दै कसैले रुँदै क्रन्दन गर्दै डाक्छ, ‘दाइ ! अविनाश दाइ...!’
छिटछिटो गएर दैलो उघार्छु ।
अगाडि तिम्रो कान्छो भाइ टंकलाई देख्छु— रुँदारुँदा सुन्निएका आँखा र खङ्ग्रङ्ङ परेको, उडे–उडेजस्तो, सातो गएजस्तो फुस्रो अनुहार लिएर उभिएको ।
कुनै अपशकुन, कुनै अप्रिय घटनाको आशंकाले आतंकित बन्दै काँप्छु । टंक भाइ रुँदै भन्छ, ‘दाइ ! जीवन दाइ बित्नुभयो हिजो राति ।...टिचिङ अस्पतालमा छाडेर आएको छु ।’
शिक्षण अस्पताल, महाराजगन्ज
पुग्छु छिटछिटो ।
केही चिनेजानेका अनुहार पुगिसकेका देख्छु । केही आइपुग्दै होलान् ।
तर तिमी छैनौ ।
तिम्रो निर्जीव कक्रिएको शरीर मात्र पसारिएको छ मुर्दाघरको चिसो स्ट्रेचरमा कसैले सुनाउँछ, ‘लासको पोस्टपार्टम गरेपछि मात्रै आफन्तलाई जिम्मा दिइने रे ।’
हिजोसम्म सँगै हिँडिरहेको, सँगै हाँसिरहेको, बोलिरहेको, खाइरहेको शरीरलाई आगोले खाइरहेको बिरक्तिएर हेरिरहन्छु ।
तिम्रो देह खरानीको थुप्रोमा अनुवाद हुन्छ ।
भरे वाग्मतीले बगाउँदै खरानीलाई कताकता पुर्‍याउनेछ । साथीहरू शोकमा सुकसुकाउँदै छन्, ‘एउटा भरभराउँदो जीवनकथा सधैंलाई सक्कियो !’
आज वर्षौंवर्षपछि तटस्थ सोच्दै छु— कहाँ सक्किएका छौ र तिमी ?
म र मजस्ता धेरैको स्मृतिमा तिमी
यथावत् छौ । अझैसम्म ।
अनि रहिरहनेछौ भोलि, पर्सि, वर्षौंपछिसम्म पनि । तिमी सकिने जिनिस हुँदै होइनौ जीवन । तिमी सकिँदैनौ यार !

Page 21
कोसेली

महाकालीपारिको  ‘टापु’ नेपाल

- आरके अदीप्त गिरी

राष्ट्रियताको ‘स्पेस’ मा धेरै अटाएको छैन, यो दोधारा–चाँदनी । जति अटाएको छ, त्यसमध्ये अटाउनुपर्ने खास कुरा नै छुटाइएको छ । त्यो यथार्थ यहाँ आएपछि मात्रै देख्न–बुझ्न सकिन्छ । देशबाट चुँडिएका यहाँका ‘जनता’ कत्रो सकसमा बाँचिरहेका छन् !


हामीले इतिहासदेखि पढ्दै–सुन्दै आएका हौँ, नेपालको राजनीतिक सिमाना मेचीदेखि महाकाली हो । तर, महाकाली तरेर दोधारा–चाँदनी पुगेपछि नेपालको भूगोलबारे हाम्रो बुझाइ गलत साबित हुन्छ । नेपाली इतिहासमा कोरिएका र पढ्दै–बुझ्दै आएका भूगोलका मानक रचनाहरू फिक्का र अमूर्त लाग्छन् । मनले आफैँसँग संवाद गर्छ— महाकालीपारि पनि ‘अर्को नेपाल’ रहेछ ।
उहिल्यैदेखि दोधारा–चाँदनीबारे सुन्दै, पढ्दै आएको भएपनि यसको यथार्थ कथाबाट म अज्ञात रहेछु । यो भूगोल आफ्नै देशसँग पराई छ भन्ने तथ्य मलाई यहाँ आएर मात्रै थाहा भयो । शासकहरूले किन यस भूमिलाई सधैँ अर्घेलो सम्झे होलान् ? किन यो भूगोल सधैँ ‘एकान्तवास’ बस्न अभिशप्त छ ? किन झन्डै नक्साबाट अलगजस्तो लाग्छ ? इतिहासले कत्रो विडम्बनाको खेल खेलेको रहेछ, यहाँका गाउँघर डुल्दा बोध भयो ।
राष्ट्रियताको ‘स्पेस’ मा धेरै अटाएको छैन, यो भूगोल । जति अटाएको छ, त्यसमध्ये अटाउनुपर्ने खास कुरा नै छुटाइएको छ । त्यो यथार्थ यहाँ आएपछि मात्रै देख्न–बुझ्न सकिन्छ । देशबाट चुँडिएका यहाँका ‘जनता’ कत्रो सकसमा बाँचिरहेका छन् ! यही भूमि टेकेपछि मात्र उनीहरूको चीत्कार, पीडा र आक्रोश बुझ्न सकिन्छ । नेपाली भएर पनि उनीहरू भारतसँग कसरी आश्रित हुन बाध्य छन्, सिंहदरबारको धुरीबाट कहिल्यै देखिएन ।

कथा दोधारा र चाँदनीको
विसं २०२१ सम्म यो भूमि नेपालीको खासै चासोको विषय थिएन । उतिबेला बाजुराबाट बसाइँ सरी यहाँ झरेका गणेशबहादुर सिंह बताउँछन्, ‘त्यसबेला म यहाँ आउँदा बीस–बाइस वर्षको थिएँ । अहिले ७६ पुगेँ । पहिला त यहाँ धेरै पातलो बस्ती थियो । यहाँ पनि मान्छे बस्छन् भन्ने कसैलाई थाहा थिएन ।’
काँसघारी र जङ्गल फाँडेर बस्ती बसालेको हिजो–अस्तिझैँ लाग्छ, गणेशबहादुरलाई । पहाडबाट भारत जान भनेर हिँडेका उनलाई कसैले भनेछ— राजा महेन्द्रले यहाँ जमिन खुला गरेका छन् । त्यसपछि उनको यात्रा यता मोडिएछ । उसबेला राजा महेन्द्रले पहाडबाट झरेकाहरूलाई मधेसमा बस्ती बसाउने नीति नै लिएका रहेछन् । त्यसयता उनी यहीँका बासिन्दा बनेका छन् ।
काकाको साथ लागेर गणेशबहादुर पहिलोपल्ट यस ‘टापु’ भूमिमा प्रवेश गरेको सम्झन्छन् । उतिबेला पूरै ‘जङ्गल–मुलुक’ थियो यो । वनबासाको बोर्डर हुँदै भारतीय भूमिबाट छिरेका थिए उनी । आफ्नो कथा सुनाइरहँदा उनको अनुहारमा खुसी झल्किन्थ्यो ।
जम्माजम्मी ३४ किलोमिटरमा फैलिएको छ, यहाँको भूगोल । १४ सय मिटर फराकिलो भई बग्ने महाकाली नदीले टाढा पारेको भएर नै यो ‘भूमि’ महाकालीपारिको नेपालका रूपमा रहन गयो । जसरी राजा महेन्द्रले बस्ती बसाए उसैगरी यो १४ सय मिटरको दूरी उहिल्यै छोट्याइदिएको भए आफूहरूले अहिले यस्तो अर्घेलो व्यवहार महसुस गर्नु नपर्ने यहाँका स्थानीय सम्झन्छन् ।

मेटिएको पहिचान
साबिकमा दोधारा र चाँदनी दुइटा गाविस थिए । अहिले यी दुवै एकाकार भई ‘महाकाली नगरपालिका’ बनेको छ । २०७१ सालमै नगरपालिका घोषणा गरिएको थियो, त्यतिबेला नाम दोधारा–चाँदनी नगरपालिका राखिएको थियो । तर, पछि २०७३ मा यसको पहिचान मेटाउनेगरी नाम फेरिएको हो । अचेल आफ्नो पुरानो परिचय ओझेलमा परेको महसुस गरिरहेका छन्, यहाँका बासिन्दाहरूले । स्थानीय गगन सिंह भन्छन्, ‘यस ठाउँको नाम चाँदनी–दोधारा भन्नेबित्तिकै पहिले हाम्रै भूगोल चिनिन्थ्यो । तर, अहिले महाकाली नगरपालिकाभन्दा त कताकता परिचय विलीन भएजस्तो लाग्छ ।’
बेलाबेला महाकालीको उपद्रोले यी टापु बस्तीसम्मै पुगेर सताउँथ्यो । त्यसबाट बँच्न ‘जाइका’ ले यहाँ बाँध बाँधिदिएको रहेछ । नदीका दुवै किनारामा बनेका तटबन्धनलाई यहाँका मानिस जाइका भन्दा रहेछन् । त्यही जाइकाले गर्दा बर्खायाममा उनीहरू ढुक्कले निदाउँदा रहेछन् । त्यसैले उनीहरू जाइकालाई ईश्वरझैँ मान्छन् अचेल ।

पहिचान फर्काउने प्रयास
नाम फेरिएसँगै पहिचानको बहस पनि जारी छ यहाँ । दुई नदी महाकाली र जोगबुडाको धारमा छ— दोधारा । र, महाकालीको भङ्गालोले अर्धआकारको चन्द्रमाझैँ काटेको छ— चाँदनी । यो नै यस भूगोलको परिचय हो । स्थानीयले यसैलाई आधार मानेर आफ्नो भूगोलको परिचयको रूपमा ‘दोधारा’ र ‘चाँदनी’ राखिएकोमा गर्व गरिरहेका थिए ।
यिनै नाम हाम्रा सामान्य ज्ञानका पानामा अमिट छाप बनेर बसिसकेका छन् । विभिन्न ‘क्विज’ हरूमा सोधिने प्रश्नमा ‘दोधारा र चाँदनी’ भन्ने जवाफमा जुन रौनक छ, यहाँका बासिन्दाको मन–मुटुमा बसेको पहिचान हो यो । तर, जब राज्य पुनःसंरचनाका नाउँमा यस स्थानको नाम बिगारियो, उनीहरूलाई स्विकार्नै अप्ठेरो भयो ।
पञ्चायतकालमा बडपुर गाउँपञ्चायतको २ नम्बर वडा थियो यो ठाउँ । पछि गएर दोधारा र चाँदनी गाविस बन्न पुगेको जगत भण्डारीले सुनाए । दशकौँअगाडि बझाङदेखि बसाइँ सरी आएका गगन सिंह बताउँछन्, ‘अब फेरि नगरपालिकाको नाम पुरानै राख्ने सहमति भएको छ, दोधारा–चाँदनी ।’
अहिले गुमेको पहिचान फर्काउन यहाँको भुइँ तातेको छ । नामको लाभ–हानिका विषयमा ठूलो छलफल चलेको पाइन्छ । स्थानीयहरू महाकाली नगरपालिकाको नाम संशोधन गरेर पुनः दोधारा–चाँदनी नै राख्नुपर्ने अडानमा छन् । यसबाट प्रस्ट हुन्छ, स्थानीयको लागि पहिचान कति प्यारो छ भन्ने ।

झोलुंगे पुलले जोडेको जीवन
२०६० सालमा महाकालीमा मुलुककै लामो झोलुंगे पुल बन्यो । अनि बल्ल महाकालीले अलग्गै राखेको यो भूगोलले महेन्द्रनगरसँग हात मिलायो र जोडियो देशसँग । ‘यही पुल हो जसले हामीलाई नेपालसँग जोडेको छ । नत्र, हाम्रा लागि महेन्द्रनगर पनि सधैँको टाढा थियो,’ एक
स्थानीयले भने ।
महेन्द्रनगरबाट शुक्लाफाँटा निकुञ्जको गेट हुँदै १४ किलोमिटर नाघेपछि पुगिन्छ, प्रसिद्ध दोधारा–चाँदनी पुल । १४५२ मिटर लामो यो ‘मल्टी–स्पाइनल’ पुल बडो आकर्षक रूपमा बनाइएको छ । तल–माथि उठेका लट्ठा, छेउभरि टाँगिएको जाली र बीचबीचमा अग्लाअग्ला बुर्जाजस्ता कलात्मक पिल्लर । आठवटा अग्ला खम्बा तथा चौध भागको सुन्दर जोडको रूपमा रहेको छ यो पुल ।
अचेल यिनै झोलुंगाले जोडेको छ, महाकालीवारि र पारिको जीवनलाई । पुल बन्नुअगाडि यो भूमि बर्खायाममा नेपालबाट पूरै बेखबर हुन्थ्यो । यहाँका बासिन्दालाई आफ्नै देश आउन पनि पराई माटो टेक्नुपर्ने बाध्यता थियो । महेन्द्रनगर आउनुपर्दा भारतीय बाटो भएर आउनुपर्थ्यो । कि त महाकाली तर्न काठे डुङ्गाको खतरापूर्ण यात्रा गर्नुपर्थ्यो । त्यो बाध्यतालाई अहिले यस पुलले अन्त्य गरिदिएको छ । हिजो महेन्द्रनगर सेरोफेरोका मानिसले यहाँका मानिससँग नाता सम्बन्ध जोड्न धैरै सङ्कोच मान्थे । त्यसलाई पनि यस पुलले विस्थापित गरिदिएको छ ।

पाल्पाबाट आफ्ना पुर्खासँगै यस भूमिमा झरेकी थिइन्, पूनम थापामगर । महाकाली नदीले कोरेको सीमारेखा र उनीहरूको पीडारेखा विलीन हुनुमा पुल नै गतिलो माध्यम भएको बताउँछिन् उनी । भन्छिन्, ‘सायद हाम्रो बुबा–आमाले पनि यति ठूलो परिवर्तन हुन्छ भन्ने सोचेका थिएनन् होला । पुलमाथि गुडिरहने मोटरसाइकलको लाम देख्दा अचेल मसँगै हाम्रा बा–आमाहरू छक्कै पर्नुहुन्छ ।’
पुल वारपार गर्ने यहाँको मुख्य यातायातको साधन भनेको अहिले मोटरसाइकल नै हो । यस पुलमा उभिएर एक छिन नियाल्दा मात्रै पनि थाहा हुन्छ, मोटरसाइकल यस भेगका जनताका लागि कति महत्त्वपूर्ण साधन बनेको रहेछ ! जसरी विकट पहाडी र हिमाली क्षेत्रमा खच्चड, घोडाको बहुआयामिक प्रयोग गरिन्थ्यो, त्यसरी नै यहाँका मानिसले मोटरसाइकलको प्रयोग बहुआयामिक रूपमा गरिरहेका छन् ।
यो पुल पार गर्दैगर्दा मलाई टोनी हेगनले नेपालको विकास प्रक्रियामा कल्पना गरेको झोलुङ्गे पुलको याद आयो । एउटा पुलले पनि कुन हदसम्म अपनत्व र समृद्धि ल्याउँदो रहेछ भन्ने कुरा यहाँ आइपुग्दा थाहा लाग्छ । पुल बन्नुअघिसम्म यहाँ खासै उल्लेख्य गतिविधि थिएन । तर, अहिले आर्थिक–सामाजिक गतिविधि फस्टाउनुका साथै पुलकै कारण जनजीवन उकासिएको छ ।
एउटै बाटोले जोडेको चाँदनी, बाबाथान, मालिका र दोधारा– यी चार बजार यहाँका मुख्य आकर्षण हुन् । अहिले उनीहरूको नियमित जिन्दगीका मागहरू सरदर यिनै बजारले धानेको छ ।

प्यारो जंगबहादुर
यहाँ आइपुग्दा जंगबहादुरले घोषणा गरेको– ‘राष्ट्रियता बलियो हुनुपर्छ’ भन्ने धारणा स्मरण हुन्छ । दक्षिणमा जोगबुडा नदीपारि सानो बस्ती छ, कुतियाकबर । यहीँबाट नेपाली माटो सुरु भएको संकेत गर्छ । यहाँका नेपाली जंगबहाहुरले गाडेका जङ्गे सीमास्तम्भ देख्दा गर्व गर्ने रहेछन् । गुमेको यस पश्चिमी भूगोललाई अंग्रेजबाट फिर्ता ल्याउन गरेको कार्यमा भने यहाँका स्थानीयले जंगबहादुरलाई शीर्ष व्यक्ति सम्झँदा रहेछन् ।
खुला सीमाबाट फाइदा उठाउने भारतीयको जमात बढेको छ । यस्ता अवाञ्छित गतिविधि नियन्त्रण भइदिए आफूहरूलाई राहत मिल्ने यहाँका नेपाली बताउँछन् । उनीहरूका अनुसार, यहाँको मुख्य समस्याको समाधान भनेको संयुक्त भन्सार, अध्यागमन चौकी, सुरक्षा चौकी आदिको स्थापनामा राज्यले कूटनीतिक पहल र प्रयास गर्नु नै हो ।

समस्यासँग पौँठेजोरी
समुन्नत समाजको कल्पना गर्दा यहाँका समस्यालाई छुटाउन नहुने तर्क गर्छन् स्थानीय युवा रोशन सुनार । गाउँ डुल्दै गर्दा कञ्चनभोज गाउँको चौतारामा भेला भएका स्थानीयलाई यहाँको पछिल्लो हालखबर के छ, भनी सोधेँ । उनीहरूले प्रायः एउटै जवाफ फर्काए, ‘राज्य हाम्रा लागि जहिल्यै बेखबर छ । अब पनि हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउने हो भने हामी कहिले
माथि उठ्ने ?’
स्थानीय २३ वर्षीय आकाश सुनार बताउँछन्, ‘सिमाना र बेरोजगारी यहाँका चर्का समस्या हुन् । यातायातको सहजता नहुनु यहाँको अर्को समस्या हो ।’ बर्खायाममा उर्लेर आउने महाकाली नदीले आफैँसँग लैजान्छ कि भन्ने पीरले उनीहरूलाई पिरोलिरहन्छ ।
कुतियाकबर गाउँमा करिब तीस–पैँतीस घरधुरी छन् । सिमानाको अन्तिम दक्षिणी गाउँ हो यो । यहाँका ८० प्रतिशत युवा भारतीय श्रमबजारमा पसिना बेच्न बाध्य छन् ।
अचेल यी सचेत युवाको समूह गाउँलाई केही मात्रामा भए पनि जागृत गर्न सकिन्छ कि भनेर लागिपरेको छ । विभिन्न सामाजिक जागरणका कार्यक्रम लिएर उनीहरू गाउँघर डुलिरहेका हुन्छन् । सीमा विवादको समस्या चर्किंदै गर्दा उनीहरू नेपाली भूमिको रक्षार्थ सीमाक्षेत्रका समस्याबारे पनि बहस गर्छन् । हिजोको जस्तो समस्या नबल्झिओस् भन्ने नै उनीहरूको प्रमुख ध्येय हो । साथै विविध एजेन्डामा केन्द्रीय राजनीतिको ध्यान यतापट्टि तान्ने प्रयत्न गरिरहेका छन् ।

महाकाली पुलबाट नेपाल हेर्दा
‘सिङ्गो नेपाल’ को कुरा गर्दा नेपालीले आफ्नो महत्त्वपूर्ण भौगोलिक अवस्थितिलाई कुनै पनि हालतमा बिर्सिनु हुन्न । महाकालीको पुलबाट पहेँलिएर डुब्न लागेको बूढो घाम हेर्न आउनेको लर्को लाग्छ । महाकालीको दुःखको भौगोलिक यथार्थ हेर्न यहाँ आउने पर्यटक देख्दा देवकोटाले भनेझैँ नेपाल ‘सुन्दर, शान्त, विशाल’ लाग्छ ।
हाम्रो इतिहास हेर्दा सिमानाको खुम्चँदो र फैलँदो स्वरूप अदूरदर्शी शासकको वरिपरि नै घुमेको देखिन्छ । यस भूमिलाई टेकेर दुई देशीय शक्ति सन्तुलनका उतारचढावहरू केलाउँदा देश त सिमाना मात्र होइन भन्ने लाग्छ । यस पुलमा टेक्दा मलाई राष्ट्रकवि माधव घिमिरेको कविताका यी पङ्क्ति याद आए—
‘पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ !’
कविताले भनेझैँ नेपाल परापूर्वकालदेखि नै स्वाधीनता तथा ठाडो शिर पारेर अटल रह्यो । भौगोलिक तथा राजनीतिक हिसाबले नेपाल कसैको अधीनमा रहेन । कसैको छत्रछायामा देशवासी बस्नुपरेन । यो हाम्रा लागि राष्ट्रिय गौरवको विषय हो ।
देशको सिमाना भनेको राष्ट्रको संवेदनशील र महत्त्वपूर्ण तत्त्व हो । सिमानाले जमिनको सतहमा अंकित सीमारेखा मात्र जनाउँदैन । राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई पनि प्रतिनिधित्व गर्छ । बेलाबेला सत्ताको कुर्सीमा बस्नेहरूले यस मर्मलाई कुल्चिदिँदा समस्या बल्झँदै आयो ।
यस सुदूर भेगबाट निर्वाचित जनप्रतिनिधिहरू
केन्द्रीय राजनीतिको मियो नबनेका पनि होइनन् । यहीँबाट राष्ट्रिय राजनीतिमा छाएका शेरवहादुर देउवा हुन् या रमेश लेखकहरूले गरेको केन्द्रीय राजनीतिको शक्तिरचनाका झिल्काहरू, यहाँ कमै मात्र परेका छन् । लोकेन्द्रबहादुर चन्दहरूले पनि बुझेनन् यहाँको मर्म । उनीहरूले यस भूमिलाई जहिल्यै चुनावी भोटको एजेन्डा मात्रै बनाए ।
मलाई भने महाकालीपारिको यो टापु नेपालसँग साक्षात्कार गरेपछि लाग्यो— साँच्चै आज पनि यहाँको जीवन असहज छ, असुविधा झेलिरहेको छ । भोग्नेहरूलाई समस्याले कति पिरल्दो हो ! अहिले पनि यहाँ एम्बुलेन्स र अति आवश्यक सामग्रीहरू भारतीय भूगोल टेकेर लैजानुपर्ने बाध्यता छ । राज्य छ भन्ने धिपधिपे आशामा दशकौँदेखि महाकालीको डिलबाट उनीहरू महेन्द्रनगरपट्टि हेरिरहन अभ्यस्त छन् । देशमा बाँडिएको ‘समृद्घिको सपना’ यहाँ कहिले साकार होला, त्यो हेर्नै बाँकी छ !
[email protected]/fb.om

Page 22
कोसेली

जसले छिचोल्छ, अनुसन्धाता बन्छ

- भोगीराज चाम्लिङ

भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेल (१९९० साउन ३०– २०७५ फागुन १२) को बहुचर्चित किताब हो– ‘खस जातिको इतिहास’ । उनका ‘पाँच सय वर्ष’, ‘नेपाली भाषा र साहित्य’, ‘राष्ट्रभाषा’, ‘एक मन सात चिन्तन’ लगायत सयभन्दा बढी पुस्तक प्रकाशित छन् । प्रा. पोखरेलको स्मृति–दिवसको सन्दर्भमा ‘खस जातिको इतिहास’ माथिको समीक्षा प्रस्तुत छ ।


प्रा. बालकृष्ण पोखरेलले एउटा लेखमा यस्तो आशय आउने गरी लेख्नुभएको रहेछ, ‘पश्चिम नेपालका दलितहरूमा पाइने मौखिक मान्दम–काव्य फेला पारेर एक जना अमेरिकी नागरिकले प्रकाशन गरेका छन् । लिम्बू मुन्थुम, राईको मुन्धुम र दलितहरूको मान्दम वा मान्धमको एउटै अर्थ हो मानसरोवर’ (सेवा नेपाल, डा. स्वामी प्रपन्नाचार्य श्रद्धाञ्जली अङ्क, साउन २०७३) ।
यो पढेपछि मलाई उग्र खुलदुली भयो । मैले विराटनगरमा रहनुभएको उहाँलाई फोन गरेँ । उहाँले अर्को नयाँ तर्क पनि गर्नुभयो, ‘जसरी भैंसी शब्द किरात राईहरूमा पुगेर भुइँसी बन्छ, त्यसरी नै मान्दम पनि मुन्दुम हुन पुगेको हो ।’ उहाँले किरात र मुन्दुमबारे लगातार आधा घण्टाजति आफ्नो कुरा बताउनुभयो तर अमेरिकी नागरिक र पुस्तकको नामचाहिँ सम्झन सक्नुभएन । बरु ‘त्यो किताब मैले मदनमणि दीक्षितबाट फोटोकपी गरेर पढेको हुँ, त्यहाँ सम्पर्क गर्नू’ भन्नुभयो । म डिल्लीबजारस्थित मदनमणि दीक्षितको निवासमा पनि पुगेँ । तर, उहाँले त्यसबारे जानकारी नभएको बताउनुभयो । म हिस्रिक्क परेर फर्किएँ । र, फेरि बालकृष्ण पोखरेललाई फोन गरेँ, ‘सर, मदनमणि दीक्षितज्यूले त थाहा भएन पो भन्नुभयो ।’ प्रा. पोखरेलले हँस्यौली गर्दै भन्नुभो, ‘बाबु ! भैंसीलाई पनि दूध दुहुन फकाउन जान्नुपर्छ । फकाइ पुगेन ।’
पछि खोज्दै जाँदा थाहा पाएँ, उहाँले भन्नुभएको अमेरिकी नागरिक ग्रेगोरी जी. मस्कारिनेक रहेछन् । उनको एउटा लेख शीलू घिमिरेको अनुवादमा प्रज्ञा (२०४३, पूर्णांक ५५) मा ‘नेपाली झाँक्री र यिनीहरूको मन्तर’ शीर्षकमा प्रकाशित रहेछ । उहाँले भन्नुभएको किताबचाहिँ मस्कारिनेकको ‘रुलिङ्स अफ द नाइट’ रहेछ, जुन पश्चिम नेपालका कामी धामीहरूबारे गरिएको अनुसन्धान हो । मौखिक ज्ञानबारे मानवशास्त्रीय अध्ययनका हिसाबले नाम कहलिएकै पुस्तक मानिँदो रहेछ यो ।

भौतिक रूपमा बिदा भइसक्नुभएका प्रा. बालकृष्ण पोखरेलका केही अमूल्य कृति भने हामीमाझ सदा जीवित रहनेछन् । त्यसमध्ये एउटा हो– खस जातिको इतिहास (२०५५) । फिनिक्स बुक्सले पुनः (२०७६) प्रकाशन गरेको यो पुस्तक नेपाली समाजको महत्त्वपूर्ण हिस्सा ओगटिरहेको खस र खसहरूको अरू समुदायसँगको ऐतिहासिक–सांस्कृतिक अन्तरघुलनबारे थाहा पाउन सबैभन्दा महत्त्वपूर्ण आधारग्रन्थ हो । ८५ वर्षमा बित्नुभएको प्रा. पोखरेलको आधाभन्दा बढी उमेर खस जातिको इतिहास अनुसन्धानमा बितेको थियो । तब न जन्मियो यस्तो ग्रन्थतुल्य पुस्तक !
यो पुस्तकलाई अन्तिम रूप दिने बखतको कष्टकर कहानीबारे मैले पनि अप्रत्यक्ष रूपमा केही कुरा थाहा पाएको थिएँ । उहाँ त्यसबखत चर्चित रेडियो कार्यक्रम प्रस्तोता दाहाल यज्ञनिधिको ‘दाहालको दैलो’ नाम दिइएको अनामनगरस्थित निवासको माथिल्लो तलामा बस्नुहुन्थ्यो । त्यहीँ स–परिवार बस्नुहुन्थ्यो कवि बाल आवारा पनि । प्रा. पोखरेल दिनरात नभनी किताबलाई अन्तिम रूप दिन मरिहत्ते गरेर परिश्रम गर्दै हुनुहुन्थ्यो । र, उहाँको कोठा भूकम्पले हल्लाउँदा दराजका पुस्तकहरू खसेझैं छरपस्ट भएको हुन्थ्यो । त्यहीँ चिया खाएर खाली भएका गिलास असरल्ल हुन्थे । त्यहीँ कागजका टिपोटहरू मिल्किएका हुन्थे । यो विद्रूप अवस्था देख्न नसकेर बाल आवारालाई खसखस लाग्थ्यो र ‘गुरु म मिलाइदिन्छु’ भनेर पुस्तकहरू मिलाइदिनुहुन्थ्यो । फेरि भोलिपल्ट त अवस्था उस्तै ! यो क्रम केही दिन चलेपछि प्रा. पोखरेलले भन्नुभयो, ‘बाबु ! मेरो किताब मिलाइदिएर साध्यै छैन । एक दिन होइन, दुई दिन होइन । मलाई कुन बेला कुन किताब चाहिन्छ, खोज्दा सबै भताभुङ्ग भैहाल्छ । यसै छोडिदेऊ ।’
अनामनगरको असरल्ल कोठामा अन्तिम रूप दिइएको त्यो किताब साढे सात सय पृष्ठको भीमकाय शरीरमा प्रकाशित भयो (फिनिक्स बुक्सले यो पुस्तकको पहिलो संस्करण २०५६ भनेर उल्लेख गरेको छ तर २०५५ हो) । यो सजिलै छिचोलिने किताबचाहिँ होइन, हाडे ओखरजस्तो हो । कडा बोक्रालाई तह लगाएपछि गुदी भेटिएझैं मिहिनेत गर्नैपर्छ । सायद यही गाम्भीर्यका कारण सार्वजनिक छलफल र विमर्श कम भए पनि धेरैले पढेको अथवा पढ्न चाहेको किताब हो यो । यसबारे मलाई लागेका सार कुरा केही बुँदामा भन्ने जमर्को गरेको छु ।
एक, यो खस जातिबारे तिर्सना मेट्ने किताब होइन, बरु झन् बढी तिर्सना जगाउने किताब हो । कोही कसैले खस जातिबारे प्रस्ट हुनका लागि पढेर यो किताब छिचोल्यो भने ऊ अवश्य पनि अनुसन्धाता भएर निस्कनेछ । किनभने, प्रा. पोखरेलले खस जातिबारे जति अनुसन्धान गरेर यो पुस्तकमा प्रकाशन गर्नुभएको छ, त्योभन्दा धेरै संकेत छोडिदिनुभएको छ । नेपालभन्दा बाहिर धेरै परसम्म पुगेर, नेपालको इतिहासका हजार–पन्ध्र सय वर्षभन्दा धेरै परसम्म पुगेर लेखिएको यो किताबले खसहरूको जरा र फैलावटबारे अवश्य नै विस्तारमा चर्चा गरेको छ । त्यसरी नै पाठकलाई थुप्रै प्रश्न र नयाँ दृष्टिकोण पनि बोकेर बाहिरिने बनाउँछ ।
दुई, यो पुस्तकको सर्वथा महत्त्वपूर्ण पक्ष भनेको मिथक अथवा धार्मिक व्याख्यानभित्र हराएको इतिहासको उद्धार हो । जस्तो कि एउटा उदाहरण मार्फत चर्चा गरौं । हिन्दु धर्ममा जुन स्वर्ग, नर्क अनि पाताल लोकको अवधारणा छ, त्यो अलौकिक नभएर ऐतिहासिक कुरा हो भनेर प्रा. पोखरेलले प्रमाणित गर्ने प्रयास गर्नुभएको छ । पोखरेलका अनुसार, पाताल भनेको प्राण रक्षाका लागि अनुकूल स्थान भन्ने अर्थमा प्रयुक्त स्थानबोधक शब्द हो । पाताल–लोकलाई प्राचीनकालमा कानन, मणिपुर (फोनिसिया) र पौलस्त्य (फिलिस्ता) भनिन्थ्यो, अहिले लेबनान र प्यालेस्टाइन भनिन्छ । त्यस्तै मर्त्यलोक अहिलेको इराक हो (पृष्ठ १०१) । स्वर्गलोक भनेको प्राचीन सुरिया जातिको देश हो, जसलाई सिरिया भनिन्छ (पृष्ठ १३१) । ठीक यहाँनिर चाम्लिङ राई भाषामा प्रयोग हुने ‘सिरिया’ र ‘हि’ शब्दबारे चर्चा गर्नु उपयुक्त हुन्छ । चाम्लिङ भाषामा ‘सिरिया’ को अर्थ हुन्छ— ‘अचम्म, आश्चर्य’ ! त्यस्तै सिरियासँगै जोडिएको क्षुद्रेसिया (आनातोलिया) का हित्तीहरू (पृष्ठ १४४) सँग मिल्दोजुल्दो शब्द हो ‘हि’ । चाम्लिङ भाषामा रातो रगतलाई ‘हि’ भनिन्छ र हित्तीहरू पनि रातो वर्णकै थिए । रातो वर्णका हित्ती र रातो बुझाउने ‘हि’ शब्दका बीचमा कुनै साइनो छ कि संयोग मात्रै हो ? के सुर जाति र सुरदेश अर्थात् सिरियासँग अहिलेका किरातका पुर्खाहरू परिचित थिए ? यो अध्ययनको विषय हो । यसमा मुन्दुममा वर्णित ‘योँला’ चाहिँ सिन्धुघाँटी सभ्यताको कुरा हो भन्नेचाहिँ मेरो पनि तर्क छ ।
तीन, मलाई लागेको यो पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष भनेको विशुद्ध सांस्कृतिक अभ्यासमा परिणत भइसकेको इतिहासको उत्खनन गर्नु हो । यस्ता अनेकौं सन्दर्भ यो पुस्तकमा छन् । तर, यहाँ तिहार र काठमाडौं उपत्यकाको गठेमंगल चाडको मात्र कुरा गरौं । काठमाडौंमा हरेक वर्ष मनाइन्छ, गठेमंगल चाड । त्यो चाड खासमा घुँटीमुँगल हो अर्थात् मध्यकालमा काठमाडौं उपत्यकामा आक्रमण गर्ने मुसलमान राजा समसुद्दिन इलियासलाई बिदाइ गर्न गरिएको तयारीको सम्झनामा सुरु भएको हो । त्यस्तै तिहारमा खेलिने भैलोमा मागिने दान भनेको तिमूर–लङलाई दिन संकलन गरिएको चन्दाको सांस्कृतिक अवशेष हो (पृष्ठ ५७६) । त्यसैले लिखित सामग्रीमा मात्र भर परेर लेखिने इतिहासभन्दा माथि उठेर मौखिक ज्ञान, सांस्कृतिक अभ्यास, भाषा इत्यादि पनि इतिहास अध्ययन र लेखनका स्रोत हुन्, हुनुपर्छ भन्ने नयाँ जमर्को हो यो पुस्तक ।
चार, इतिहासका नसुल्झिएका कतिपय घटनालाई सुल्झाउने प्रयास गर्नुभएको छ, प्रा. पोखरेलले । आजसम्म पनि लिच्छविकालका चर्चित राजा अंशुवर्माका बारेमा इतिहासकारबीच मतैक्यता भइसकेको छैन । उनलाई अधिकांशले ठकुरी मानेका छन् । प्रा. पोखरेलले केही तथ्यका आधारमा अंशुवर्मालाई मगर ठकुरी मान्नुभएको छ (पृष्ठ ५४३) । मामाकी छोरीसँग बिहे गर्ने प्रचलन रहेका कारण ठकुरीहरू मगर थिए (पृष्ठ ४०१) । मल्ल, गोलेश, कल्यालझैं सीमित ठकुरीबाहेकको मूल लाङ्गाली (मगर) हो, त्यही वंशका हुन्, स्रङ–चङ–गम्पो पनि । उहाँको तर्क के हो भने नेपालका खस–मगरहरूले मानसरोवर पुगेर लिगवंश स्थापना गरे । त्यही लिगवंशका थिए— तिब्बतका राजा स्रङ–चङ–गम्पो (पृष्ठ ६०१) । अंशुवर्मा पनि त्यही लाङ्गाली वंशकै भएका कारण स्रङ–चङ–गम्पो र उनकी छोरी भृकुटीबीच विवाह भएको हुन सक्छ (पृष्ठ ६०२) । पोखरेलले अगाडि सारेको तर्क सही पनि हुन सक्छ, गलत पनि तर इतिहासका नसुल्झिएका कुरालाई सुल्झाउने नयाँ दृष्टिकोणचाहिँ यो पक्कै हो ।

तुलनात्मक भाषाशास्त्रका अध्येयता भएका कारण प्रा. बालकृष्ण पोखरेलले त्यो ज्ञानको पनि धेरै प्रयोग गरेका छन् यो पुस्तकमा । तर, विशुद्ध भाषाशास्त्रीय आँखाले मात्र सबै सन्दर्भमा सही निचोडमा पुग्न सकिँदैन कि भन्ने मेरो ठम्याइ छ । त्यसैले उहाँले नै प्रयोग गर्नुभएको शब्द सापटी लिएर केही खुरे टिप्पणी गर्न मन लागेको छ ।
एक, कतिपय कुरामा चाहिँ भाषामा मात्रै निर्भर हुन खोज्दा प्रा. बालकृष्ण पोखरेल चिप्लिनुभएको महसुस हुन्छ । उहाँ तामाङलाई थ्रेसबाट क्षुद्रेसिया हुँदै आर्मेनियाबाट नेपाल प्रवेश गरेको भनी व्याख्या गर्नुहुन्छ (पृष्ठ १५९) । त्यसको आधार बनाउनुभएको छ ‘तामाङ’ को ‘माङ’ (ईश्वर) शब्दलाई र त्यसलाई महाभारतको अम्बा र अम्बालिकासँग जोड्नुभएको छ । तर, सजिलो कुराचाहिँ के हो भने माङ भनेको तिब्बतमा विकास भएको प्राचीन बोन–धर्मसँग सम्बन्धित पितृ हो । नेपालमा माङ मान्ने समुदायभित्र किरातहरू पनि पर्छन् ।
दुई, प्रा. पोखरेलको अहिलेका किरात र खस (छाग) का पुर्खा दुई निकटत्तम शाखाका हुन् (पृष्ठ १४७) भन्ने तर्क छ । पोखरेलले किर (अथवा किन) शब्दको अर्थ घोडो हुने भएकोले छाग (खस) निकट हुन् भन्ने शब्दार्थको त्यान्द्रो समात्नुभएको छ । तर, संस्कृति, भाषा र मुख्यतः आनुवंशीयता (जेनेटिक्स) ले यो कुरा पुष्टि भएको छैन । बरु हालसम्मका अध्ययनले किरातहरूलाई चिनियाँ ह्वाङ हो नदी सभ्यताकै भनेर देखाइरहेको छ । यसमा पोखरेलले किरातीहरूले बोकाको मासु नखाने सांस्कृतिक सन्दर्भका आधारमा पनि किरात र खसका पुर्खा निकट हुन् भन्न खोज्नुभएको छ । तर, मुन्दुमी मिथकअनुसार किरातहरूले बोकाको मासु खान छोडेको भनेको सप्तकोसी क्षेत्रमा आइपुगेपछि मात्र हो, त्यसभन्दा पहिला उनीहरूले बोकाको मासु खान्थे ।
अर्को एक स्थानमा किरात समुदायभित्रका याक्खा र याक्थुम्बा (लिम्बू) पनि यक्ष (खस) हुन् (पृष्ठ १०) भन्ने तर्क गर्नुभएको छ, जबकि याक्खा र याक्थुम्बा शब्दबारे सम्बन्धित समुदायको व्याख्याचाहिँ प्रा. पोखरेलले भनेजस्तो यक्षसँग मिल्दो छैन ।
तीन, अर्को रोचक व्याख्या उहाँले सुनुवारबारे गर्नुभएको छ । उहाँ के तर्क गर्नुहुन्छ भने कुलुबाट कुनु (शुन वा शुनु) हुन बाध्य भएका आफ्ना बान्धवहरूको विजोग देखेर कत्युरी समुदायको एक शाखा बाहिङ राईहरूको शरणमा पुगेर सुनुवार भएको हो (पृष्ठ ५७१) । यस विपरीत किरातहरूमा प्रचलित मुन्दुमी मिथकमा चाहिँ लिम्बू, याक्खाबा, राई र सुनुवारका पुर्खाहरू वराहक्षेत्रबाट अलग भएका हुन् भनिन्छ । त्यसैले सम्बन्धित समाजमा प्रचलित तथ्यहरू नसमातीकन गरिने शाब्दिक अर्थ लगाउँदा पोखरेल अन्यत्रै पुग्नुभएको देखिन्छ ।
चार, खसहरूको मौखिक ज्ञान अर्थात् कैरनको उपयोग भने प्रा. पोखरेलले यस पुस्तममा गर्नुभएको देखिँदैन । मेरो हिसाबमा खसहरूबारे अध्ययन गर्न सकिने जीवित सम्पदामध्ये यो पनि एक हो । मैले सुनेअनुसार, खसहरूले कैरनमा आफ्नो आदिम बसाइँसराइको कथा पनि भन्ने गर्छन् । इतिहासको कुरा गर्छन् । खस जातिबारे अनुसन्धान गर्नका लागि कैरन महत्त्वपूर्ण स्रोत हो ।

कोसेली

यो अन्त्य होइन निस्सीम !

- राजकुमार बानियाँ

लगभग भूतपूर्व विधा भइसक्यो नाटक । भूतपूर्व नमान्ने हो भने पनि दुर्लभ त भयो नै । नाटकघरमा प्रायः कथा, उपन्यास वा इतिहासका नाट्य रूपान्तरण या विदेशी नाटकका अनुवाद नै मञ्चन भइरहेका देखिन्छन् । बक्स अफिसजस्तै टिकटमा चलिरहेका नाटकघर र रंगकर्मीको फैलावट हौस्याउने खालको भए पनि उपन्यासको उफानमा नाटक लेखनको स्थिति ‘ड्रामाटिक आइरोनी’ जस्तो छ ।
मदन पुरस्कारको खाता पल्टाउँदा नाटक विधामा २०४२ मा ‘वैकुण्ठ एक्सप्रेस’ का लागि मोहनराज शर्माले पाएको इतिहास छ । २०५५ मा केशवप्रसाद उपाध्याय नाट्य समालोचना ‘दुःखान्त नाटकको सृजना परम्परा’ का लागि पनि मदन पुरस्कार विजेता बनेका छन् । त्यसै गरी, कुनै बेलाको प्रतिष्ठित साझा पुरस्कार बालकृष्ण समले ‘भीमसेनको अन्त्य’ (२०२९) र अशेष मल्लले ‘सडकदेखि सडकसम्म’ (२०४१) का लागि पाएका छन् ।
यसका भुक्तभोगी घिमिरे युवराज आफ्नै कथा, पात्र र परिवेशका नाटक लेख्न साहित्यकारहरूलाई घचघच्याइरहने रंगकर्मी हुन् । उनी निर्देशन नाटक ‘कोमा : अ पोलिटिकल सेक्स’, ‘बाथटब’, ‘सखी’ र ‘आँधीको मनोरम नृत्य’ चलनचल्तीको भाषामा ‘सुपर–डुपर’ नै भए । उनको लेखन र निर्देशन रहेको ‘आँधीको मनोरम नृत्य’ शिल्पी थिएटरमा २५ दिनमा २५ पटक मञ्चन भयो । र, त्यो नाटकलाई उनले पुस्तकका रूपमा ल्याएका छन् ।
अनौपचारिक जानकारीमा यस वर्ष जम्मा दुई नाटक आए, कुमार नगरकोटीको ‘बाथटब’ र घिमिरे युवराज ‘आँधीको मनोरम नृत्य’ । नाटक किन लेखिँदैनन्, त्यसको अलग्गै विमर्श हुन सक्छ । घिमिरेकृत नाटक प्रतीकात्मक छ । किशोरजन्य उमेर आफैँमा आँधी समान वेगवान हुन्छ । त्यो आँधी बेलैमा महत्त्व बुझ्न सके मनोरम हुन्छ, बुझिएन भने त्यसले विध्वंसको रूप पनि लिन सक्छ ।
आँधी–नृत्य देखाउन नाटककारले दर्शकलाई जादुमयी बस हुँदै कक्षाकोठासम्म पुर्‍याएका छन् । त्यो कति मनोरम छ, कति हार्दिक छ र कति सिर्जनशील छ ? दर्शकले सहजै थाहा पाउँछन् । जब बालसंसारमा कथित पाकाहरूको प्रवेश हुन्छ अनि गडबडी सुरु हुन्छ । अहो कति धेरै विभेद र हस्तक्षेप ! अर्ती र उपदेशको बाढी ! भन्न मन लाग्छ, ‘नो रुल एनी मोर प्लिज’ ।
‘आँधीको मनोरम नृत्य’ मूलतः समस्या नाटक हो । आजका किशोरकिशोरी आफ्नो ऊहापोह सुन्ने र बुझ्ने ठाउँ नभएर छटपटिएका छन् । तिनको जीवनमा आउने मनोवैज्ञानिक त्रासदीलाई अभिव्यञ्जना गरेको छ । तिनको मौन स्वरलाई परिवार, समाज र विद्यालयसमक्ष पुर्‍याउने चेष्टा पनि गरेको छ । अक्षरहरूले थिचिरहेको कसैले सुनिदियोस् भन्ने पुकारा पनि छ ।
किशोरकिशोरी उन्मुक्त हुन चाहन्छन् । उनीहरूका स्वतन्त्र धारणा छन् । सही र गलतको परख गर्छन् । अभिभावक, विद्यालय र समाजले आलोकाँचो ठानिदिन्छ । कहिलेकाहीँ आफैँसँग पनि मनोवैज्ञानिक टक्कर हुन्छ । तर, अभिभावकलाई तिनको पीडा सुन्ने समय छैन । अधिकांश अभिभावक सोच्छन्, महँगो विद्यालयमा भर्ना गर्दैमा सबै जिम्मेवारी सकियो । कतिसम्म भने बोली फुटाउने दायित्व पनि विद्यालयलाई नै सुम्पिन्छन् ।
बेलाबेलामा विद्यालय पनि गएर आफ्ना छोराछोरीबारे बुझ्ने आवश्यकता पनि ठान्दैनन् । अभिभावकलाई त राम्रो रिजल्ट चाहिएको छ, बस् । अभिभावकलाई अगाडि राखेर विद्यार्थी हुर्मत लिन पाए ढुक्क हुन्छन् विद्यालय । किताबको भारी बोकाउने अनि पाठ घोकाउने धन्दा मात्रै छ उनीहरूको । सही मानेमा शिक्षा र संस्कार दिन असफल । र, दुवै पक्ष दोषी विद्यार्थीलाई बनाएर पानीमाथिको ओभानो बन्न चाहन्छन् ।
नाटकले सामान्य सरकारी कर्मचारी झकेन्द्रको सानो परिवारको कथा बोलेको छ । परिवारमा उसकी आमा, पत्नी रूपा, छोरी निस्सीम र छोरा ज्याक छन् । सहरी जीवनको घन्चमन्च र भागदौडमा झकेन्द्रले छोराछोरीलाई उतिसारो समय दिन सकेको छैन । अझ ऊ कर्मचारी साथीहरूको साँझको जमघटमै ज्यादा भुल्छ ।
उसकी जेहेनदार १६ वर्षीया छोरी निस्सीमले घरमै आएका कुण्ठित पाहुनाबाट यौनहिंसा बेहोरेकी छ । सहपाठी गोविन्दसँग उसको बसाउठी छ । पेटभित्र असामायिक रूपमा कुनै भ्रूण चलमलाइरहेको छ । ठूलो आँधीबेरीमा फसेकी बिचरी निस्सीमको ‘सुसाइड नोट’ जस्तो चिठीमा परिवार, विद्यालय र समाजको अनुहार उदांगो हुन्छ । हामीभित्र रहेका पूर्वाग्रही धारणाबाट कति प्रताडित रहेछ नयाँ पुस्ता ?
‘आँधीको मनोरम नृत्य’ किशोरकिशोरी दृष्टिबिन्दुबाट लेखिएको भिन्न नाटक हो । यसले अभिभावक र छोराछोरीबीचको डरलाग्दो दूरी देखाएको छ । आधुनिकताको आँधीमा किशोरकिशोरी कहाँ छन् ? अभिभावक र विद्यालयलाई थाहापत्तै छैन । निस्सीम वा संगीताले बेहोरेको समय सबैजसो किशोरकिशोरीसित मिल्दोजुल्दो छ ।
नयाँ पुस्तालाई समाजका पुरातन पर्खाल अमान्य छ । तर, यसले केही सामाजिक जटिलता खडा गरेको तथ्य वास्तविक हो । किशोरकिशोरीलाई आफ्नो स्पन्दन सुन्ने असल साथीमात्र नभएर अभिभावक पनि चाहिएको छ । नाटकमा समाजको साँघुरो चेतनामाथि संगीताको मार्मिक प्रहार छ, ‘के एउटी केटीको मन मिल्ने केटा साथी हुन सक्दैन ?’
सामाजिक यथार्थमाथि भरपूर ‘डार्क कमेडी’ छ नाटकमा । प्रविधिको दुरुपयोगदेखि भ्रष्ट कर्मचारीतन्त्रको मनोदशासम्म व्यंग्य गरेको छ । संगीत नाटक यस नाटकको अभिन्न पक्ष हो । यसलाई पनि संगीत नाटक भने हुन्छ । कतिपय संवाद हृदयस्पर्शी छन् । काव्यात्मक भावहरूले भरिएका संवादले नाटकलाई प्रभावोत्पादक बनाएको छ । छुद्रता र कृत्रिमता छाडेर यसले नाटकमा मौलिक बाटो अँगालेको छ ।
प्रकृति र जीवन अनुकरणको श्रेष्ठ रूप हो, नाटक । यसको विशेषता नै अभिनयात्मक हुनु हो । नाटकको अस्तित्व नै रंगमञ्चमा छ । ‘आँधीको मनोरम नृत्य’ मञ्चित नाटक भएकाले थप टिप्पणी गरिरहनु परेन ।
आफ्नो उद्देश्यअनुरूप यसले दर्शकदीर्घामा सघन प्रभाव छाड्छ । आरोहण गुरुकुलको प्रशिक्षण, कोपनहेगनको ‘कमेडिया डेलार्ते’ को शिक्षा साथै २० वर्षे थिएटर अनुभव लिएका घिमिरे युवराजले खँदिलो सामग्री पस्केका छन् । नेपाली समाजका शैक्षिक, राजनीतिक, आर्थिक र मनोवैज्ञानिक समस्या एकै ठाउँमा प्रस्तुत गरिएको छ, नाटकमा । धेरै विषय एकै ठाउँमा गुजुल्टिएकाले छरितोपनको आभास हुन्न । पात्रहरूको त जन्ती नै देखिन्छ । यति भीडभाड आवश्यक नभए पनि यसले स्थुल भौतिक धरातलमा मानवीय भावनाको सूक्ष्म अभिव्यक्ति दिन सकेको छ । नाट्यशिल्पका हिसाबले घिमिरे युवराजमा खासै गडबडी देखिँदैन । ‘सर्रियल’ बाट ‘रियल’ नाटकमा उनको छलाङ कमजोर छैन ।
हरेक नयाँ पुस्तासित अथाह सम्भावना हुन्छ । पुस्तान्तरणका कारण त्यो सत्य अधिकांश अभिभावकले आत्मसात गर्न सकेका छैनन् । ग्रिसेली नाटक वर्गीकरणमा यो दुःखान्त नाटक नै भए पनि यसले एउटा गुरुमन्त्र दिएको छ, ‘ट्राई टु बी अग्ली ।’ (कुरूप हुने कोसिस गर ।) यसले नाटकको सौन्दर्यशास्त्रीय ‘क्लिन सेभ’ परिभाषालाई समेत भत्काइदिएको छ । विद्यार्थीकै जस्तो मिक्सट भाषा छ । मनको द्वन्द्व प्रस्तुत गर्न सक्नु यस नाटकको सामर्थ्य हो । निस्सीमको कारुणिक क्षण आइपुग्दा जुरुक्क उठेर सम्झाउन मन लाग्छ, ‘यो अन्त्य
होइन निस्सीम !’


‘आँधीको मनोरम नृत्य’
लेखक : घिमिरे युवराज
प्रकाशक : शिल्पी कला समूह
पृष्ठ : १२०
मूल्य : २५०/–

Page 23
कोसेली

प्रतिष्ठाको विषय (?)

विवाहेत्तर यौनसम्बन्ध र विवाह फरक विषय हो । तर, विवाहेत्तर यौनसम्बन्धको सन्दर्भमा पनि समाजले निर्धारण गरेको मापदण्ड पुरुष र महिलालाई फरकफरक छ ।
- सम्झना वाग्ले भट्टराई

हालै काठमाडौँको एउटा चल्तीको कफी सपमा थिएँ । कफीको बिलको पछाडिपट्टि केही ठूला अंग्रेजी अक्षरमा ‘एस ई एक्स’ लेखिएको थियो । बिलको पछाडि यस्तो देखेपछि अनौठो लाग्यो र नियालेर हेरेँ । कुनै आफूलाई रचनात्मक दाबी गर्ने कम्पनीको उत्पादनको विज्ञापन रहेछ । ठूला अंग्रेजी अक्षरको तलपट्टि तिनले लक्षित गर्ने पूरा शब्दहरू राखिएको रहेछ ः ‘एस माने सिम्पल’, ‘ई माने इलिजेन्ट’, र
‘एक्स माने एक्स्ट्राअर्डिनरी’ अर्थात् सरल, सुरुचिपूर्ण र असाधारण । उत्पादन राम्रो भए तिनका गुणबारे व्याख्या गर्न यी शब्दहरू आफैँमा प्रभावशाली लाग्छन् । तर, किन यसलाई प्रस्तुत गर्न ‘सेक्स’ शब्दको प्रयोग आवश्यक होला ?
त्यसै दिन ठमेलमा हिँड्दै गर्दा कुनै रेस्टुरेन्टको अगाडि ठूला अंग्रजी अक्षरमा लेखिएको ‘एस ई एक्स’ देखेँ । अलि नजिक गएर हेरेको ‘फुड इज एक्सेप्सनल’ लेखिएको रहेछ । तर, यस लेखाइमा पनि अन्य अक्षर सामान्य राखिएका तर ‘इज’को ‘एस’ र ‘एक्सेप्सनल’को ‘ई’ र ‘एक्स’लाई ठूलो र चम्किलो अक्षरमा राखिएको छ, ताकि अन्य अक्षर नदेखिउन् र ‘सेक्स’मा मात्र आँखामा परोस् जसरी । ‘खाना अतुलनीय मीठो छ’ भन्न पनि ‘एस ई एक्स’ को प्रयोग गर्नुपर्ने कुन मनोविज्ञानको प्रभाव होला ? सोचेरै हैरान भएँ ।
त्यसो त यौनजन्य विषयलाई जोडेर वस्तुको विज्ञापन गर्ने चलन विश्वमै नौलो होइन । सन् १८७१ मा पर्ल सुर्तीको खोलमा नग्न महिला शरीरको तस्बिर प्रयोगलाई विज्ञापनमा नग्नताको पहिलो प्रयोग मानिएको छ । त्यसपछि बिस्तारै चुरोट तथा मदिराका विज्ञापनमा नग्नताको प्रयोग गरिएका उदाहरण छन् । अहिले त यस्ता अभ्यास व्यापक प्रचलनमा छन् । यस लेखको सुरुआतमा उल्लिखित प्रसंगहरू त्यसकै उदाहरण हुन् । तर, यसपछाडिको मनोविज्ञान भने अध्ययन तथा विश्लेषणको विषय पक्कै हो ।
के विज्ञापनमा नग्नता वा यौनजन्य सामग्रीले वस्तुको व्यापारमा सकारात्मक प्रभाव पार्छ त ? यसबारे पश्चिमा तथा भारतलगायतका मुलुकमा प्रशस्त शोध–अध्ययन भएका छन् । यस लेख लेख्ने क्रममा मैले यसै विषयसँग सम्बन्धित विगत दस वर्षमा गरिएका दर्जनभन्दा बढी अध्ययन प्रतिवेदन तथा अनुसन्धानमूलक लेख अध्ययन गरेकी थिएँ । तीमध्ये अधिकांश अध्ययनको निचोड विज्ञापनमा यौनजन्य सामग्रीको प्रयोगले उत्पादनको बजार बढाएको नतिजा छैनन् तर यसले बजारमा उत्पादनको उपस्थिति भने देखाउने गर्छ । केही अध्ययनका निष्कर्षले यस्ता विज्ञापनले अमेरिकी उपभोक्तामा सकारात्मक प्रभाव परेको देखिए पनि युरोप तथा एसियाका बजारमा नकारात्मक प्रभाव परेको देखाएका छन् । यसै विषयमा सन् २०१६ मा भारतीय उपभोक्तबीच गरिएको सर्वेक्षणमा बहुसंख्यक ‘महिलाले यस्ता विज्ञापनले आफूलाई होच्याएको महसुस गरेका र पुरुषले यी विज्ञापनलाई ठट्टाको विषयको रूपमा लिने तर वस्तु खरिदमा यस्ता विज्ञापनले प्रभाव नपार्ने’ बताएका थिए । नेपालको सन्दर्भमा यससम्बन्धी अध्ययन भएको सामग्री मैले भेटिन ।
यौन स्वाभाविक हुँदाहुँदै पनि किन यति धेरै चासोको विषय बन्यो ? हाम्रो समाजमा किन यो रहस्य तर अतिरञ्जित बन्यो, बनाइयो ? यसको पृष्ठभूमिमा कस्तो मनोविज्ञानले भूमिका खेलेको होला ? कस्तो सामाजिक पृष्ठभूमिले यसलाई मलजल गरेको होला ?
यौनजन्य विषयलाई रहस्य बनाएर विज्ञापनको रूपमा प्रयोग हुनु एउटा पक्ष हो भने यौनकै व्यापार अर्को पक्ष हो । त्यसो त देहव्यापार वा आम रूपमा भनिने बेश्यावृत्तिलाई मानव सभ्यताकै सबैभन्दा पुरानो व्यवसाय/व्यापार भन्ने गरेको पनि यदाकदा पढ्न/सुन्न पाइन्छ तर यसको विश्वस्त प्रमाण भने पाइँदैन । तर, कतिपयले यौन व्यापारका विस्तारको जिम्मेवार पुँजीवाद हो भन्ने पनि गर्छन् । यस तर्कका पछाडि केही तथ्य हेरौँ । विभिन्न कानुनी अवरोधका बाबजुद आर्थिक गतिविधिका केन्दमा अहिले पनि देहव्यापार फस्टाउँदो छ । त्यस्तै यौनजन्य विषयलाई केन्द्रमा राखेर मौलाएको अर्को व्यवसाय ‘पोर्नोग्राफी’ पनि झनै व्यापक हुँदै गएको छ । आम रूपमा प्रयोग गरिने शब्द ‘पोर्नोग्राफी’ को सुरुआती प्रयोग ग्रीक भाषाको ‘पोर्नी (देहव्यापारी) बारे लेखिएको’ भन्ने रहेछ । ‘पोर्नोग्राफी’ को शब्द व्युत्पत्ति तथा प्रविधि विकासको आजको स्तरले पनि यौन भिडियोका आधार र बजार बढाएको हुन सक्छ ।
अठारौँ शताब्दीमा पेरिसमा छपाइ हुने ‘फ्रेन्च पोस्टकार्ड’ (युवतीहरूका अर्धनग्न, नग्न तस्बिरहरू प्रयोग गरिएका हुन्थे) लाई नग्नताको सुरुआती व्यवसायको रूपमा लिने गरिन्छ । बीसौँ शताब्दीको मध्यतिर ‘प्लेब्वाय’ जस्ता पत्रिकाको प्रकाशन सुरु भएपछि यस्ता व्यवसाय झनै विस्तार हुँदै गए । भिडियोग्राफीको विकासले यौन चलचित्रलाई व्यावसायिक रूप दिन थाल्यो । भीसीडी तथा डीभीडीमार्फत यौन चलचित्र विश्व बजारमा फैलिए । नेपालका भित्री गल्लीहरूमा पनि यस्ता चलचित्रको प्रदर्शन हुने र हेर्न गएका संस्मरणजन्य आलेख पढ्न पाइन्छ ।
सन् १९९० पछि त इन्टरनेटको विस्तारले ‘पोर्न भिडियो’ लाई विश्वभर फैलाएको छ । पछिल्लो समय यस्ता सामग्रीको अर्थतन्त्रबारे पनि टीकाटिप्प्णी हुने गरेको छ । सन् २००१ को मेमा न्युयोर्क टाइम्स म्यागेजिनमा ‘पोर्न व्यवसायजस्तो अर्को कुनै व्यवसाय छैन’ भन्ने आलेख प्रकाशन भएको थियो । उक्त आलेखका अनुसार, त्यस समयमा पार्नोग्राफीको वार्षिक कारोबार १० देखि १४ बिलियन अमेरिकी डलर हुने उल्लेख रहेछ । सन् २०१९ मा आइपुग्दा यस व्यवसायले विश्वभर वार्षिक ९७ बिलियन अमेरिकी डलर कारोबार गर्ने गरेको पढ्न पाइन्छ । यौनजन्य भिडियोहरूको एक अग्रणी वेबसाइट ‘पोर्नहब’ को सन् २०१९ को प्रतिवेदनअनुसार, गत वर्ष मात्र यो वेबसाइट ४२ अर्बपटक हेरियो । यस हिसाबले विश्वभरबाट दैनिक एघार करोड पचास लाखपटक यी साइट खोलिने रहेछन् । त्यस्तै यस वर्ष मात्र यस साइटमा ६८ लाखभन्दा बढी यौनजन्य भिडियो अपलोड भएको उक्त प्रतिवेदनमा उल्लेख छ । अन्य साइटका पनि यस्ता तथ्यांक जोड्ने हो भने यौनजन्य भिडियामा हामीले गर्ने समय तथा पैसाको लगानी भयावह देखिन आउँछ । प्रतिवेदनमा शीर्षस्थानमा पर्न नसके पनि यसको सानो ठूलो हिस्सा नेपालले अवश्य बेहोरेको छँदै छ । स्मरण रहोस, बलात्कारलगायत यौनहिंसा बढेको भनी नेपाल सरकारले यस्ता वेबसाइटहरूमा प्रतिबन्ध लगाएको छ । यो तथ्य पनि बिर्सनुहुन्न कि प्रतिबन्ध लागेका यस्ता विषयहरू भूमिगत शैलीमा झनै चलायमान हुने गर्छन् र यसका लागि प्रशस्त चोर बाटाहरू नभएका होइनन् ।
सभ्यताको विकास क्रममा यस्ता विविध पक्ष हुन्छन् नै । हरेक उत्पादनसँगै त्यसका सहउत्पादनहरू पनि आएका हुन्छन् । यौनजन्य विषयको बढ्दो व्यवसायीकरणले लैंगिक प्रभाव कस्तो पारेको छ त ?
यौनको सन्दर्भमा हाम्रो समाज तुलनात्मक रूपमा उदार हुँदै गएको मानिन्छ । तर, त्यो उदारता महिला र पुरुषका लागि उस्तै छ त ? कतिपय सन्दर्भमा असामाजिक प्रयोग बढ्दै गएको एक सामाजिक सञ्जालमा कुनै उट्पटाङ नामको आईडीबाट लेखिएको थियो ‘नेपालमा लोग्ने मरेपछि स्वास्नी सती जाने प्रथा अन्त्य भयो । यो लोग्ने विदेश गएपछि स्वास्नी परपुरुषसँग लाग्ने प्रथाचाहिँ कहिले अन्त्य होला है ?’
त्यसो त सामाजिक सञ्जाल सार्वजनिक भित्तो हो, जसले जे पनि लेखेका हुन सक्छन् । जे नै लेखिए पनि त्यसले समाजको मनोविज्ञान प्रतिविम्बित भने गरेको हुन्छ । यस स्टाटसले पनि हाम्रो समाजको एक सोचको प्रतिनिधित्व अवश्य गर्छ । वैदेशिक रोजगारीले ल्याएको विकृतिमध्ये यौन विचलन र त्यसले ल्याएको पारिवारिक बिखण्डनलाई देखाउने गरिन्छ । तथ्यगत रूपमा यो यथार्थ पनि हो । तर, यौन विचलन र पारिवारिक विखण्डनमा आरोप भने मूलतः महिलालाई लगाउने गरिन्छ । यो आरोपमा भने तथ्यगत सत्यता छैन । २०७६ साउन २१ मा ‘नेपाल’ साप्ताहिकमा छापिएको कैलाश राईको ‘बदलिँदो दाम्पत्य’ शीर्षक लेखमा वैदेशिक रोजगारी र त्यसैले पारिवारिक विखण्डनमा पारेको प्रभावबारे विश्लेषण गरिएको छ । उक्त लेखमा उनले वैदेशिक रोजगारमा गएका ८ हजार ९ सय ३३ घरपरिवारमा श्रीमती विदेश गएकामा ३६ प्रतिशत श्रीमान् र श्रीमान् विदेश गएकामा दुई प्रतिशत श्रीमतीले दोस्रो विवाह गरेका तथ्यांक प्रस्तुत
गरेकी छन् ।
विवाहेत्तर यौनसम्बन्ध र विवाह फरक विषय हो । तर, विवाहेत्तर यौनसम्बन्धको सन्दर्भमा पनि समाजले निर्धारण गरेको मापदण्ड पुरुष र महिलालाई फरकफरक छ । विवाहेत्तर यौनसम्बन्धमा महिलालाई लाञ्छना लगाइने तर पुरुषलाई छुट दिने प्रचलन छ । यौनसम्वन्ध जैविक आवश्यकता हो, यसमा महिला वा पुरुष भनेर विभेद गर्नु नपर्ने हो । तर, एउटै प्रकृत्तिको आवश्यकता र कर्ममा पुरुषलाई छुट र महिलालाई आरोपित गर्नुमा सामाजिक मनोविज्ञानमा खोट देखिन्छ ।
कलेज पढ्दाकी एक साथीसँग अस्ति भर्खर लामो कुराकानी भयो । प्रेम बिहे गरेकी उसको वैवाहिक जीवन अहिले तनावपूर्ण छ । दुई छोरा छन्, सात र चार वर्षका । श्रीमान् सरकारी जागिरे छन् । ऊ पनि निजी बैंकमा काम गर्छे । बिहे गरेको झन्डै १० वर्षपछि उसले अनौठो र दिक्कलाग्दो सत्य थाहा पाई रे ! उसका श्रीमान्ले श्रीमतीको नाममा फेसबुक खोलेका रहेछन् तर उसैलाई थाहा नदिई । साथीको आफ्नै पनि फेसबुक अकाउन्ट छ । अधिकांश साथी उसको नामका दुवै अकाउन्टमा साथी रहेछन् । धेरैलाई उसले दुई अकाउन्ट खोलेकी लाग्दो रहेछ । तर, ऊ भने आफ्नै दोहोरो अकाउन्टबारे बेखबर रहिछे ।
हुने रहेछ के भने श्रीमान्ले उसको नाममा खोलेर आफैँले चलाउने गरेका फेसबुक म्यासेन्जरबाट विशेष गरी पुरुष साथीहरूसँग उट्पटाङ र छाडा कुरा गर्ने रहेछन् । जब उसले यस हर्कतबारे सोधी श्रीमान्ले सहज उत्तर दिए रे, ‘तेरो चरित्र जाँचेको ।’
ए बाबा ऊ नक्कली आवरणमा श्रीमतीको नाममा अश्लील कुरा गर्छ र भन्छ ‘तेरो चरित्र जाँचेको ।’ साथी भन्छे, ‘मेरो चरित्र जाँचेको भने पनि खासमा उसको प्रदूषित मनको विकारयुक्त उत्पादन हो यो । उसको यौनलगायतका चरित्रसँग म त भलिभाँती परिचित छु नि ।’ यस कथाका अन्य विद्रूप पाटाहरू प्रशस्त छन् । तर, यस लेखमा उठाउन खोजेको कुरा भने यौनजस्तो प्राकृतिक कुरालाई पनि चरित्रको मापदण्ड बनाउने कस्तो सामाजिक मनोविज्ञान हो ? त्यो पनि महिला पुरुषलाई छुट्टाछुट्टै मापदण्ड ?
अर्को एउटा प्रसंग सम्झन्छु । एउटा शनिबार आफन्त दिदीको परिवारसँग घुम्न गएका थियौँ । एकअर्काका मोबाइलबाट केही फोटाहरू खिचियो । पछि ती दिदीको छोराको मोबाइलमा फोटोहरू हेर्दै थिएँ, केही अरू फोटाहरू पनि हेरेँ । साथीहरूसँग घुम्न गएको रहेछ कतै । केटाहरू, केटीहरू दुवै थिए । फोटोमा उसँगै भएकी केटीको फोटोलाई औल्याउँदै ऊसँग जिस्किएँ, ‘तेरो गर्लफ्रेन्ड हो बाबु यो ?’
उसले अपेक्षा नै नगरेको उत्तर दियो, ‘यस्ती केटीलाई को गर्लफ्रेन्ड बनाउँछ ?’
‘किन नि, मान्छे राम्री छ त ?’
‘अनुहार मात्र त्यस्तो हो, हामीसँगै क्लास बंक गर्छे, चुरोट खान्छे ।’
‘तँ पनि त्यस्तै गर्दोरहेछस् त !’
‘केटा मान्छेको कुरा अर्कै हो, केटी भएपछि आफ्नो ठाउँमा बस्नुपर्छ नि !’
ऊ भर्खर १७/१८ वर्षको, देशको राजधानी सहरमा जन्मे, हुर्केको युवा हो । थाहा छैन उसको जस्तै सोच राख्ने अहिलेका युवा कति छन् । सामाजिक मनोविज्ञान निर्माण प्रक्रिया उस्तै छ भने त्यसले उत्पादन गर्ने सोच पनि त उस्तै होलान् ।
र अन्त्यमा, यौन प्राकृतिक विषय हो भने किन बन्यो/बनाइयो महिलाको हकमा मात्र सामाजिक प्रतिष्ठाको विषय ? त्यही समाज, जसले बजारमा महिलाको नग्नतालाई विज्ञापनको वस्तु बनाउँछ, व्यापारको वस्तु बनाउँछ र घरमा आएर त्यसैलाई इज्जत र प्रतिष्ठाको विषय बनाउँछ भने भन्नैपर्ने हुन्छ— पितृसत्ताले बहुसंख्यक पुरुषलाई दोहोरो चरित्रका यौनविकृत व्यक्ति बनाएको छ । त्यसै विकृत मानसिकतालाई पुँजीवादले मलजल गरेको छ र केही पुरुष त्यसैको आडमा मैमक्त बनेका छन् ।
पत्याउनुहुन्न (?) त्यही मानसिकता त हो जसले खानाको स्वादको विज्ञापनमा पनि यौनको अपरिहार्यता देख्छ ।
(नोट : समाजवाद वा साम्यवाद शब्दमा मात्र सुनेकाले सम्पूर्ण अपजसको जिम्मेवारी पुँजीवादलाई मात्र थोपर्नुपरेको व्यहोरा जानकारी गराउँछु ।)
[email protected]

कोसेली

विश्वयुद्धमा पिल्सिएको संगीतकार

- गोकर्ण गौतम

सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनपिङ कजाकिस्तान पुगे । राष्ट्रपतिले सम्बोधनका क्रममा दुई देशको मित्रता र चीनको वैभवशाली अर्थतन्त्रको बखान गरे । अनपेक्षित रूपमा एक चिनियाँ संगीतकर्मीको प्रसंग उप्काएर चकित पारे । ती संगीतकर्मी थिए— सियान सिंघाई ।
चीनमा सियानद्वारा सिर्जित ‘येल्लो रिभर क्यान्टाटा’, ‘सेभिङ द नेसन,’ ‘सङ्स अफ गुरिल्लाज’ जस्ता संगीत अति लोकप्रिय छन् र विशिष्ट कोटीमा दरिन्छन् । पियानो र अर्केस्टाको त वादशाह नै हुन् सियान । पश्चिमा शास्त्रीय संगीतबाट खुब प्रभावित थिए उनी । के भनिन्छ भने सियानको संगीत वा नाम नसुन्ने चिनियाँ सायदै छन् तर उनको जीवनको भयानक पछिल्लो ५ वर्षबारे चाहिं कमैलाई थाहा छ । राष्ट्रपति सीले सम्बोधनमा सियानको त्यही कालखण्ड उल्लेख गरेका गिए किनभने त्यो कजाकिस्तानसँग जोडिएको थियो ।
कजाकिस्तानबाट रुसको मस्को पुगेको केही समयपछि सन् १९४५ मा सियानको मृत्यु भएको थियो । कजाकिस्तान बसाइमा उनले ‘लिबरेसन अफ द नेसन’, ‘सेक्रेड वार’ जस्ता सिम्फोनी कम्पोज गरेका थिए । सियानबारे अहिले यत्ति भनौं ।
राष्ट्रप्रेमले ओतप्रोत सियानका संगीत मन पराउने तर उनीबारे अनविज्ञ चिनियाँमध्ये एक थिए, फिल्म निर्माता सेन जियान । राष्ट्रपतिको सियान–बखान सुनेर सेन खोज–अनुसन्धान गर्न लागे । दुई वर्षअगाडि राष्ट्रपति सीले कजाकिस्तानका समकक्षी नुरसुल्तान नज्रवयेभलाई बेइजिङस्थित द ग्रेट हल अफ पिपुलमा स्वागत गरे । शक्ति राष्ट्रका प्रमुखको औपचारिक भेटमा प्रायः नदेखिने दृश्य त्यतिबेला देखियो । उनीहरूले सँगै एउटा फिल्मको ट्रेलर हेरे । त्यो फिल्म उनै सियानबारे थियो । निर्माता थिए— सेन जियान । ५ वर्षमा तयार भएको फिल्मको नाम राखियो, ‘द कम्पोजर’ । ट्रेलर हेरेपछि दुई राष्ट्रपतिले फिल्म युनिटसँग अन्तरक्रिया गरे । चीन–कजाक सहकार्यमा बनेको पहिलो फिल्म, त्यसमाथि महान् संगीतकर्मीमार्फत दुई देशको मित्रता र गौरवगाथा देखाइएको, दुवै राष्ट्रपतिको प्रिय हुने भइहाल्यो । निर्माता जियानले फिल्मको प्रादुर्भाव बताएपछि त सी थप प्रफुल्लित भए । ‘द कम्पोजर’ को यहाँ चर्चा गर्नुको कारणचाहिँ यत्ति मात्र होइन ।
तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ओपनिङ फिल्म थियो– ‘द कम्पोजर’ । संयोग कस्तो भने त्यो दिन थियो, फागुन १– माओवादीले सशस्त्र युद्ध थालनी गरेको दिन । ‘द कम्पोजर’ मा युद्धमा फसेर आफ्नो घर फर्कन नपाएको बुबा र युद्धमा गएको बुबाको पखाईमा रहेकी छोरीको वेदना र रोदन थियो । दसवर्षे सशस्त्र द्वन्द्वमा कति नेपाली यस्तै रापमा पिल्सिए ? अझ कति नागरिक बेपत्ता छन् ? उनीहरूको आफन्तको पखाइ कहिले सकिएला ? जो बाँचे तर अंगभंग भए, आज कुन स्थितिसँग जुध्दै होलान् ? नेताहरूलाई यस्ता पात्रको पीडाले छुन छोडिसकेको छ सायद । तर, ‘द कम्पोजर’ ले ती पात्रलाई हाम्रो आँखै अगाडि ल्याइदिन्छ । त्यो भयानक युद्धको बर्बरता सम्झाएर झस्काइदिन्छ ।
मचाहिँ न सियान सिंघाईबारे जानकार थिएँ, न यो फिल्मबारे । ‘मन परे हेरौंला, नत्र बीचमै निस्कौंला’ भन्दै फिल्म हेर्न थालियो । पात्र, तिनीहरूको भोगाइ, चालढाल र लोकेसनले दोस्रो विश्वयुद्धको त्रासदीमा लगिहाल्यो । त्यसपछि त फिल्मले तानेको तान्यै । दृश्यमार्फत सिनेमाले निर्माण गर्ने असली शक्ति यस्तै हुन्छ सायद, तपाईंसँग कहिल्यै सरोकार नभएकै पात्रको पीडाले पनि मर्माहत बनाइदिने । उनीहरूको खुसीले फुरुंग बनाइदिने । ‘द कम्पोजर’ सियानको बायोपिक भने होइन, यसले उनको पूरा जीवनकथा भन्दैन । खासगरी सोभियत संघ र कजाकिस्तानको भोगाइ मात्र देखाइएको छ । तर, उनी सिद्धहस्त संगीतकर्मी हुन् भन्ने फिल्म सुरु भएको केही बेरमै भेउ पाइन्छ । उनको सकस दर्शकले अनुभूत गर्न सक्छन् । निर्देशक शेरज्यात थाहुफको कुशलताको परिणाम हो यो । उनले तत्कालीन समयलाई बडो आधिकारिक र विश्वसनीय ढंगले पेस गरेका छन् । बच्चा, वयस्क, मजदुर, संगीतसाधक, वृद्धवृद्धा हरेक उमेर र पृष्ठभूमिका चरित्र जीवन्त लाग्छन् ।



सियान सन् १९४० मा सोभियत संघ गएका थिए । उद्देश्य थियो, डकुमेन्ट्री फिल्मको संगीत कम्पोज गर्ने । उनको अनुसन्धानले पूर्णता पाएकै थिएन, जर्मनले सोभियत संघमाथि आक्रमण गर्‍यो, त्यसपछि स्वदेश फर्कर्नै पाएनन् । अनेक बाटोबाट फर्कने प्रयास गर्दागर्दै कजाकिस्तानको अल्माटीमा अलपत्र पर्छन् । गरिबीले सताउँछ । धन्न ! उनलाई कजाकका संगीतकर्मी बखित्जान बक्दमुभले सहारा दिन्छन् । बखित्जानले आफ्नो आफन्तको घरमा बस्ने बन्दोबस्त गरिदिन्छन्, त्यस घरका मुली पनि युद्धमै हराएका हुन्छन् । सानी छोरी र पत्नी मात्रै घरमा छन् । निर्देशकले यी दुई पात्रसँग सियानको सम्बन्ध केन्द्रमा राखेका छन् ताकी युद्धको त्रासदीको अन्दाज होस् । बाबुविहीन छोरी र छोरीविहीन बाबुले एकअर्कालाई अभिव्यक्त गरेको प्रेम निकै मर्मस्पर्शी छ ।
सियान बल्लतल्ल अल्माटीबाट मस्को पुग्छन् । क्षयरोग र कुपोषणले सताउँछ । तर, न उपचार गर्न पाउँछन्, न स्वदेश फर्कन । चरम कष्टबीच सन् १९४५ मा उनको मस्कोमै मुत्यु भएको थियो । ४० वर्ष पुग्दै थिए । मस्कोमा रहँदा उनले
आफ्नो असली परिचय लुकाएका हुन्छन्, कतिसम्म भने सहारा दिने बखित्जानलाई समेत उनी ख्यातिप्राप्त संगीतकार हुन् भन्ने थाहै हुन्न । सियानको मृत्युपछि बल्ल वास्तविकता बाहिर आउँछ । त्यहाँको अखबारले लेखेपछि बखित्जान र सियानले आश्रय लिएको परिवारले थाहा पाउँछन् । पत्रिकामा छापिएको सियानको फोटो समातेर सानी फुच्ची रुने दृश्यले साँच्चै मथिंगल हल्लाउँछ । सन् १९३९ मा सियानले कम्युनिस्ट पार्टीको सदस्यता लिए । ३ सयभन्दा बढी संगीत कम्पोज गरे । ३५ लेख–रचना प्रकाशित छन् । संगीतबाहेक चिनियाँले उनलाई सम्मान गर्ने अर्को कारण हो, चीन–जापान युद्धमा उनको उल्लेख्य भूमिका । यो पाटोलाई चाहिं फिल्ममा खास देखाइएको छैन । यता, चीनले जापानसँग विभिन्न जित हासिल गर्छ, सियानकै संगीत बजाएर उत्सव मनाइन्छ । उता, सियान मस्को र अल्माटीमा छटपटाइरहेका हुन्छन् । अस्वस्थताको बाबजुद कारखानामा कष्टकर काम गर्नुपर्छ ।
फिल्म हेरिरहँदा लाग्छ, हामीकहाँ अहिले जति संगीतचेत छ, उतिबेला मस्को र चीनतिर योभन्दा कम थिएन । युद्धले भयभीत नागरिकलाई संगीतबाट सान्त्वना दिन र जीवनप्रति आशा जगाउन सियान आफैं लागिपर्छन् । संगीत त एउटा माध्यम हो, खासमा यो मानवताको कथा हो । अनि, देशभक्ति पनि । तर, भारतमा आजकल बनिरहेका फिल्ममा झैं अतिरञ्जित चरित्र र गाथा छैन, एकदमै प्रेमिल पात्र र विश्वसनीय भोगाइमार्फत देशप्रेम व्यक्त गरिएको छ । राष्ट्रप्रेम पोखिएका कतिपय गीतहरू सियानले कजाकिस्तानको तीनै सकसपूर्ण बसाइमा सिर्जेका थिए । चीन मात्र होइन, कजाकिस्तानमा आज पनि उनको संगीत मन पराइन्छ । उनले एउटा कम्पोजिसन त्यहाँको राष्ट्रिय हिरोप्रति समर्पित गरेका थिए । फिल्ममा चीन र कजाकका कलाकारले अभिनय गरेका छन् । सियान बनेका छन्, चिनियाँ अभिनेता हु जुन । छायांकनपछि हुले भनेका थिए, ‘सियानको भूमिका निर्वाह गरेपछि बेग्लै ऊर्जा मिल्यो । उनको त्यो समयमा भोगेको कष्टले मन छोयो ।’ कार्यकारी निर्माता इरिस वाङले सिन्ह्वालाई बताएअनुसार, पाँच वर्षको निर्माण–अवधिमा चीन, रुस, कजाकिस्तान र दक्षिण कोरियाका करिब २ हजार व्यक्ति संलग्न रहे । यो फिल्मले केही अन्तर्राष्ट्रिय फेस्टिभलमा अवार्ड जितिसकेको छ । अघिल्लो वर्ष यो फिल्मको बेइजिङ प्रिमियरले धेरैको ध्यान तान्यो । स्क्रिनिङपछि ८० वर्ष नाघेका दुई वृद्धालाई स्टेजमा बोलाइयो । दुवैको आँखा भरिएको थियो । को थिए उनीहरू अनुमान गर्नुस् त ? एक थिइन्, सियानकी छोरी नीना । अर्कीचाहिं अल्माटीमा सियान बसेको परिवारकी छोरी कल्माकस एरिसल्नोभा । फिल्म हेरेपछि आँसु पुछ्दै कल्माकसले भनेकी थिइन्, ‘सियानबाट मैले बुबाजस्तै माया पाएँ, उहाँसँग कृतघ्न छु । नीनाको बुबाबाट पाएको त्यो असिम मायाको कथा नीनालाई सुनाउन मन थियो । फिल्मबाट सुनाउन पाएँ । एकदमै खुसी छु । साँच्चै उनी मेरो पनि बुबा थिए ।’
कल्माकसले मायाको कथा सुनाइन्, चीनले आफ्नो गर्विलो इतिहास । जब चीनले सिनेमालाई ‘सफ्ट पावर’ का रूपमा अंगीकार गर्‍यो, उसले यस्तै कथाहरू रोजिरहेको छ ।

Page 24
कोसेली

गणितको विज्ञान

- राम लोहनी

गणितबारे ठूलो भ्रम छ । विद्यालय तहमा सामान्य जोड, घटाउ र गुणन जाने पुग्छ, त्योभन्दा बढ्दा जान्न चाहनेका लागि गणितको ऐच्छिक अध्यापन गराइनुपर्छ भन्ने तर्क उठ्ने गरेका छन् । अहिले त क्यालकुलेटरको व्यापकताले ती जोड, घटाउ पनि व्यक्तिले जान्नु नपर्ने स्थिति आइसकेको छ !


शारीरिक तन्दुरुस्तीका लागि जस्तै संज्ञानात्मक समृद्धि र बौद्धिक क्षमता अभिवृद्धिका लागि पनि ‘पौष्टिक तत्त्व’ चाहिन्छ । संज्ञानात्मक तन्दुरुस्तीको लागि आवश्यक पौष्टिक तत्त्वलाई मुख्यतः तीन कोटीमा विभाजन गर्न सकिन्छ– तथ्य एवम् सूचना, तर्क तथा विश्लेषण र अभिव्यक्ति । यिनीहरूले क्रमशः निवेश (इनपुट), प्रशोधन (प्रोसेसिङ) र पैदावन (आउटपुट) को प्रतिनिधित्व गर्छन् । हरेक व्यक्तिका लागि ज्ञानको पहिलो खुड्किलो बाह्य संसारका वस्तु र घटनाको अनुभव हो । वस्तु र घटनालाई चिन्ने, वर्गीकरण गर्ने, समानता र फरकपनको आधारमा तिनीहरूलाई संगठित गर्ने प्रक्रियासँगै बालबालिकाको ज्ञान आर्जन सुरु हुन्छ । यो क्रममा बालबालिकाले सामान्य संज्ञानात्मक सीपको प्रयोग गर्छन् । प्रारम्भमा प्रयोग हुने यो सीपको प्रारूप जन्मजात आर्जित हुन्छ भन्ने मान्यता छ । कतिसम्म भने भोक, प्यासजस्तै जान्ने, बुझ्ने प्रयास पनि एक प्रकारको प्राकृतिक संवेग नै ठानिन्छ र जिन–संरचनामै अभिलिखित हुन्छ भन्ने विश्वास गरिन्छ ।
बाह्य संसारसँगको अन्तरक्रिया बढ्दै गएअनुसार तथ्यहरूको संग्रह पनि बढ्दै जान्छ । तथ्यहरूको गठजोडबाट जुन अर्थपूर्ण संरचना बन्छ, त्यो ज्ञान हो । एक्लो तथ्य, एक्लो सूचना मस्तिष्कमा घटित हुने विद्युत्–रासायनिक प्रतिक्रियाबाहेक केही पनि होइन । मानव मस्तिष्कले तथ्य र सूचनालाई संगठित गरेर दीर्घ स्मरणमा राख्ने असाधारण क्षमता राख्छ । सामान्य दृष्टिमा यो प्रक्रिया स्नायुरसायनको विद्युतीय र रासायनिक गतिविधिले गर्ने टंकण (इन्कोडिङ) मात्र हो । टंकित सूचना र संगठित अवस्थामा तिनीहरूको संज्ञानात्मक आयामको व्याख्या, वर्णन आजको दर्शनशास्त्र र स्नायुविज्ञानको चुनौती हो ।
तथ्यहरूको संगठन र व्यवस्थापनमा हाम्रो बौद्धिक क्षमता जति प्रबल र सिर्जनात्मक हुन्छन्, हाम्रा ज्ञान पनि त्यसै अनुपातमा समृद्ध हुँदै जान्छन् । बुद्धिको प्रबलता र सिर्जनात्मकता हाम्रो मस्तिष्कको तर्क गर्ने, विश्लेषण गर्ने र निष्कर्ष निकाल्न सक्ने क्षमतामा परिलक्षित हुन्छ । यो क्षमतालाई प्रतीक (सिम्बोल) हरूले मध्यस्थता गरिरहेका हुन्छन् । समानता तथा फरक छुट्याउन सक्ने, वस्तुको परिमाणमा भएको घटबढलाई अनुभूत गर्न सक्ने, आकार प्रकारको भेद ठम्याउन सक्नेजस्ता आधारभूत संज्ञानात्मक क्षमता जन्मजात नै हुन्छन् । स्वाभाविक ठानिएका यस्ता संज्ञानात्मक क्षमताबाट अगाडि बढेर मानव मस्तिष्कले यथार्थलाई प्रतीकमार्फत ग्रहण गर्न सक्ने विशिष्ट क्षमता पनि आर्जन गरेको छ । यो नै गणितीय क्षमताको जग हो । भाषा पनि त्यही प्रकृतिको विषय हो । शब्दले वस्तु र अवधारणाको एकाइलाई प्रतीकात्मक रूपले प्रतिनिधित्व गरेको हुन्छ । जब शब्दहरू मिलेर वाक्य र एउटा अर्थपूर्ण अभिव्यक्ति निर्माण हुन्छ, त्यो अर्को तहको प्रतीकात्मक सिर्जना हो । प्रतीकहरूले यथार्थ र कल्पनालाई संकेत मात्र गर्दैनन्, यिनीहरूको स्वतन्त्र सत्ता पनि हुन्छ । प्रतीकको यही डोमेन नै भाषा र गणितको कार्यक्षेत्र हो । तर, गणित भाषाजस्तो स्वतः आर्जन हुने क्षमता भने होइन । गणितीय संज्ञानको प्रारम्भिक अवस्थालाई सुधार्न र समृद्ध पार्न निश्चित प्रकारको तालिम र अभ्यासको आवश्यकता पर्छ । यो तालिम र अभ्यास गणित शिक्षण हो । हाम्रा केटाकेटीहरूलाई कस्तो खालको गणित शिक्षण चाहिन्छ भन्ने कुरा हामी हाम्रा केटाकेटीको बौद्धिक क्षमता न्यूनतम रूपमा कस्तो होस् भन्ने चाहन्छौँ, त्यसैमा निर्भर रहन्छ ।
तथ्यको जानकारी उपलब्ध गराउने मुख्य विषय हुन्— सामाजिक शिक्षा र विज्ञान । सामाजिक शिक्षाले परिवार, समाज, राष्ट्र र विश्वजस्ता मानवीय संरचनाहरूको जानकारी गराउँछ । विज्ञानले प्राकृतिक जगत्को विविध आयामहरूको जानकारी गराउँछ । यी जानकारीहरू कुन तहका विद्यार्थीहरूलाई कति र कुन प्रकारको चाहिन्छ भन्ने कुरा उनीहरूमा विकास हुँदै गएको बौद्धिक तह र ग्रहण तथा विश्लेषण गर्न सक्ने क्षमताले निर्धारण गर्छ । किनभने तर्क र विश्लेषणबिना सूचनाहरू संगठित हुँदैनन् र बिनासंगठन तिनीहरू अर्थहीन हुन्छन् । सूचीकृत तथ्य ज्ञान होइन, यो त केवल सूचीपत्र मात्र हो, क्याटलग मात्र हो । जबसम्म हामी बच्चालाई विश्लेषण गर्न, तर्क गर्न, मूल्यांकन गर्न र निष्कर्ष निकाल्न प्रेरित गर्दैनौँ, तबसम्म हाम्रा शिक्षण सिर्जनात्मक हुँदैनन् । गणित शिक्षणले बच्चाहरूमा आलोचनात्मक चेत र सिर्जनात्मक सीपको विकास गर्न मद्दत गर्छ । त्यसकारण शिक्षकहरू स्वयम् पनि गणितको यो उद्देश्यसँग परिचित हुनु आवश्यक छ । जबसम्म बच्चाहरू आफूले सिकेको कुरालाई नयाँ सन्दर्भमा उपयोग गर्न जान्दैनन्, उनीहरूको सिकाइ पूर्ण भएको ठहरिँदैन । विद्यार्थीको गणितीय मेधालाई उत्प्रेरित गरेर सिर्जनात्मक तुल्याउन सक्ने शिक्षा नै सही शिक्षा हो । तथ्यहरू रटेको विद्यार्थी र पुस्तकालयमा थन्किएको किताब दुवै उस्तै हुन् । कार्यक्षेत्रमा दुवै उपयोगी हुँदैनन् ।
शिक्षाको तेस्रो आधारभूत तत्त्व अभिव्यक्ति हो । भाषाको आर्जन हुँदा व्यक्तिले व्याकरण, शब्दानुशान र ध्वनि उच्चारणको ज्ञान मात्र प्राप्त गरेको हुन्छ । सामान्य सञ्चार र संवादका लागि अनौपचारिक परिवेशमा आर्जित यो भाषिक ज्ञान नै पर्याप्त हुन्छ । तर, अभिव्यक्तिमा शैलीगत वैशिष्ट्यता र कलात्मक विविधता स्वतः आर्जन हुँदैनन् । यो सीप भाषाको शिक्षणबाट प्राप्त हुन्छ । चित्रकला, संगीतजस्ता अभिव्यक्तिका अन्य विशिष्ट माध्यम पनि हुन सक्छन् । तर, ती विशिष्टीकृत प्रतिभा हुन्, जुन सबैमा अपेक्षा गर्न सकिँदैन । विद्यार्थीहरूलाई विभिन्न साहित्यिक सिर्जना पढाउनुको उद्देश्य उनीहरू भाषाका विविध शैली र अभिव्यक्तिको ढाँचासँग परिचित होऊन् भनेर हो । अभिव्यक्ति सीपअन्तर्गत शब्दचयन, शब्दको उचित प्रयोग, व्याकरणिक शुद्धता, प्रचलित हिज्जेको अनुसरण र तर्कसंगत संकथन निर्माण पर्छन् ।
सूचना र तथ्यको सीमा हुँदैन । नयाँ तथ्य पत्ता लगाउनु र उपलब्ध तथ्यहरूलाई वैकल्पिक संयोजन गरेर नयाँ अर्थ आविष्कार गर्नुमा मौलिकता प्रतिविम्बित हुन्छ । हामीले दिने शिक्षाले हाम्रा केटाकेटीहरूलाई यो दिशातर्फ उन्मुख गराउन सक्नुपर्छ । भौतिक विज्ञानमा मात्र होइन, समाज र इतिहासजस्ता समाजविज्ञानमा पनि तथ्यहरू अलगथलग र छरिएका हुन्छन् । तथ्यहरूको तर्कसंगत संयोजनले एउटा न्यारेसन खडा गर्छ । तथ्यहरूको घटबढ वा अदलाबदलीले न्यारटिभमा पनि परिवर्तन ल्याउँछ । हरेक तर्कसंगत न्यारटिभ वैकल्पिक सत्य हुन् । वैकल्पिक सत्यको सिर्जना गर्न सक्ने क्षमता गणितीय क्षमता हो । विज्ञानमा नयाँ तथ्य र वास्तविकताको अनुमान तथा प्रक्षेपण गणितीय सूत्रहरूबाटै सम्भव हुन्छ । गणितका सूत्रहरू अभिव्यक्तिका ढाँचा हुन् ।
गणितको बारेमा ठूलो भ्रम व्याप्त छ । गणित भनेको पाठ्यपुस्तकमा अभ्यासका लागि दिइएका समस्याहरू हल गरेर उत्तर निकाल्नु मात्र हो भन्ने बुझाइले जरो गाडेको छ । विशेषगरेर विद्यालय तहका पाठ्यपुस्तकमा पाइने यस्ता अधिकांश समस्या हाम्रा दैनिक जीवनसँग जोडिएका विरलै भेटिन्छन् । अभ्यास गर्न सुझाइएका यी अमूर्त समस्याहरू हाम्रा जीवनसँग कहाँ जोडिन्छन् भन्ने पत्तो नपाउँदा ती अभ्यासहरू निरर्थक लाग्नु अस्वाभाविक पनि होइन । तोकिएका समस्या समाधानको अभ्यास गर्दा मस्तिष्कले पाएको तालिम र आर्जित सीप नै गणितको उद्देश्य हो भन्ने प्रष्ट हुन नसकेको भान हुन्छ । ज्ञानको रिक्तताले भ्रम पैदा हुन्छ । विद्वान्हरूले नै बीजगणित र ज्यामितिका साध्यहरूको उपयोगिताबारे बारम्बार प्रश्न उठाएको सुनिन्छ । फलानो सूत्र मैले कहाँ प्रयोग गर्न पाउँछु, फलानो साध्य नजान्दा मेरो जीवनमा के फरक पार्थ्यो भन्नेजस्ता प्रश्नहरूको उचित सम्वोधन नहुँदासम्म सामान्य जीवनमा गणितको आवश्यकतामाथि प्रश्न उठिरहन्छ । कतिसम्म भने विद्यालय तहमा सामान्य जोड, घटाउ र गुणन जाने पुग्छ, त्योभन्दा बढ्दा जान्न चाहनेका लागि गणितको ऐच्छिक अध्यापन गराइनुपर्छ भन्ने खालका तर्क पनि उठ्ने गरेका छन् । अहिले त क्यालकुलेटरको व्यापकताले ती जोड, घटाउ पनि व्यक्तिले जान्नु नपर्ने स्थिति आइसकेको छ !
सत्रौं शताब्दीपछि समाजविज्ञानको अध्ययनमा आमूल परिवर्तन आयो । त्यो कसरी र किन सम्भव भयो भनेर सामान्य व्यक्तिले सोच्ने विषय पनि होइन । यसको जस जान्छ, सत्रौं शताब्दीको अन्त्यतिर न्युटन र लाइब्निजले छुट्टाछुट्टै विकास गरेको क्याल्कुलसलाई । क्याल्कुलसको आविष्कार हुनुअघि गतिशील वस्तुलाई यथाअवस्थामा अध्ययन गर्न सकिएको थिएन । तिनीहरूलाई स्थिर मानेर वा स्थिर अवस्थामा मात्र बुझ्न सकिन्थ्यो । क्यालकुलसको आविष्कारले भौतिक विज्ञानलाई मात्र रूपान्तरण गरेन, किनभने संसारमा भौतिक वस्तुभन्दा पनि मान्छेसँग सम्बन्धित हरेक कुरा गतिशील थिए र त्यसलाई बुझ्नु न थियो । गतिशील वस्तु र अवधारणाहरूको परिवर्तनको व्यहोरा बुझ्न क्यालकुलसले ठूलो मद्दत पुर्‍यायो ।
त्यस्तै त्रिकोणमितिको कुरा गर्दा कतिपय विद्वान्हरू पनि ‘साइन’, ‘कस’ जस्ता सिम्बोलहरूप्रति नाक खुम्च्याउँछन् । ‘साइन’, ‘कस’ केही होइनन्, त्रिभुजका भुजाहरूको अनुपातलाई दिइएको नाम मात्र हो । त्रिकोणमिति भनेको त्रिभुजको नापसँग सम्बन्धित हो भनेर बुझ्नेबित्तिकै यसको उपयोगिता प्रस्ट हुन्छ । त्रिकोणमितिको विकास हजारौं वर्ष पुराना सभ्यताहरूमा भएका थिए । घर निर्माण गर्दा गारोको सुर मिल्नुपर्छ, गारो ‘बटम’ मा हुनुपर्छ, भर्‍याङको झुकाव मिलेको हुनुपर्छ भन्नेजस्ता आधारभूत कुरा त्रिकोणमितिका विषय हुन् । पहाडको उचाइ, ग्रह–नक्षत्रका गतिविधि, समुद्रमा उठ्ने ज्वार, जमिनको नाप सबै कुरा त्रिकोणमितिका विषय हुन् । संसारको इतिहासले भन्छ, यस्ता सामान्य कुराको अध्ययनबाट गुज्रेको मानव समुदाय नै सभ्यतामा अगाडि बढ्न सके ।
ज्यामितिको विकास नाप प्रणालीको प्रयोजनका लागि मात्र थिएन । यो चिन्तन प्रक्रियाकै हिस्सा थियो । ज्यामितिमा हामी केही आधारभूत तथ्यलाई स्विकारेर अघि बढ्छौं । हामीले स्विकारेका कुरा प्रमाणित वस्तुगत तथ्य हुन पनि सक्छन्, तत्कालको उपयोगको लागि स्विकारिएका सत्य पनि हुन सक्छन् । स्थापित मान्यता वा स्वीकृत अवधारणामा नयाँ सत्य र तथ्यहरूको संयोजन गर्दै जाँदा पैदा हुने अर्को नयाँ सत्य नै ‘साध्य’ हुन् । साध्य अर्थात् थिअरमले नयाँ सत्यको ढोका उघार्छ ।
स्थापित सत्य, स्थापित एवम् स्वीकृत सत्यले निर्देशित गरेको सत्य र तर्कसंगत अनुमानको सहायताबाट नयाँनयाँ सिद्धान्तहरू आविष्कार हुन्छन् । जीवन र जगत्को व्याख्या सिद्धान्तले नै गर्ने हुन् । सिद्धान्तहरू तात्कालिक सत्य हुन् । अर्को सत्यले विस्थापित नहुन्जेल त्यही ‘सत्य’ नै सत्य ठहर्छ । विज्ञानको विकासको मेरुदण्ड यही हो । यस अर्थमा ज्यामितिका अवधारणाहरूको ज्ञानले ज्यामितीय निष्कर्ष मात्र नदिएर संसारलाई हेर्ने दृष्टिकोण प्रदान गरिराखेको हुन्छ । उदाहरणका लागि बह्माण्डको चर्तुआयामिक ज्यामितिलाई मानव मस्तिष्कले साक्षात्कार गर्न त सक्दैन, तर गणितीय समीकरणमा त्यसलाई प्रस्ट पार्न सकिन्छ । विद्यालयीय पाठ्यपुस्तकमा गराइने अभ्यासहरू उपकरण मात्र हुन्, साधन मात्र हुन् । साध्यलाई लक्ष्य ठान्ने हो भने साधनको प्रशिक्षण जरुरी हुन्छ । मस्तिष्कको क्षमता अभिवृद्धि गर्न उपकरणको सोधन त हुनैपर्छ ।
अंकगणित संख्याको गणित हो, बीजगणित संकेतको । अंक र संख्या परिमाण निश्चित भएका एकाइ हुन् । अंक र संख्याका प्रकृति, व्यहोरा र सत्ताको पनि छुट्टै गणितीय विमर्श हुन्छ । हाम्रा जीवन र जगत्मा पनि मूल्य प्रस्ट नभएका धेरै राशि (भेरिएबल) हुन्छन् । यिनीहरू पनि ‘संख्या’ नै हुन् । चरराशिहरू अन्तरसम्बन्धित हुन्छन् र परिस्थितिअनुसार तिनीहरूको मूल्य फरकफरक हुन्छन् । राशिहरू मिलेर समीकरण निर्माण गर्छन् । वाक्यजस्तै समीकरण पनि अर्थपूर्ण हुन्छन् र वस्तुगत यथार्थको प्रतिनिधित्व गर्छन् । निश्चित नियम र प्रक्रियाको अधिनमा रहेर समीकरण हल गर्ने र राशिहरूको मूल्य पत्ता लगाउने प्रयास गरिन्छ । समीकरणको यो सुन्दरतासँग साक्षात्कार नहुँदा यसको महत्त्व पनि ओझेलमा पर्न सक्छ ।
यसकारण, गणितलाई जीवनोपयोगी बनाउनु पहिलो आवश्यकता हो । गणितले वास्तविक जीवनका समस्या समाधान गर्न सहयोग गर्छ भन्ने तथ्यपरक शिक्षण गर्न सकियो भने गणितको आवश्यकता प्रस्ट हुन्छ । अमूर्त सूत्र र सिद्धान्तले नीरसता आउनु स्वाभाविक हो । यसका लागि पाठ्यपुस्तकहरूमा समस्यापरक अभ्यासको परिमाण बढाउनु जरुरी छ । किनभने आजका मानिस पाइलापाइलामा गणितीय समस्यासँग जुधिरहनुपरेको छ । सूचना र कम्प्युटरको युगमा यी साधन चलाउन जान्नुसँगै यसको सामान्य कार्यप्रणालीसँग पनि परिचित हुनुले बेग्लै महत्त्व राख्छ । विद्यालय तहको शिक्षा समाप्त गरेको व्यक्तिले आयआर्जन, कर, सेयर कारोबार र खरिद–बिक्रीको लेखाजोखा राख्न जानेको हुनुपर्छ । समय र लगानीको चुस्त उपयोगबाट अधिकतम प्रतिफल कसरी प्राप्त गर्न सकिन्छ भन्ने विश्लेषण गर्न जान्नुपर्छ । आफूले अपनाएको कारोबारसँग सम्बन्धित सामान्य जटिलतालाई हल गर्न खोज्ने र विज्ञहरूले गरेको हलबाट अर्थ खुट्याउन सक्ने हुनु जरुरी छ । सामाजिक जीवनलाई गतिशील तुल्याउने अवधारणाहरू र तिनका सम्बन्धको सामान्य व्याख्या गर्न सक्ने हुनुपर्छ । निर्माण र प्रविधिसँग जोडिएका उपकरणहरूको कार्यप्रणाली पनि बुझेको हुनुपर्छ । गणितलाई जीवनसँग जोडियो भने गणितीय समीकरणले पनि कविता वा आख्यानका उद्धरणले जस्तै आनन्दित तुल्याउन सक्छन् ।
आजका विद्यार्थीलाई विद्यालय शिक्षाको समाप्तिसँगै सूचना र तथ्यको भरिया मात्र बन्ने जोखिमबाट मुक्त गर्नु जरुरी छ । तथ्यहरूको सम्बन्ध र कार्यप्रणालीमा प्रस्ट व्यक्ति नै अभिव्यक्तिमा पनि प्रस्ट हुन सक्छ । आधुनिक गणित धेरै नै अमूर्त भइसकेको साँचो हो । साथसाथै गणित जीवन निर्वाहसँग जोडिएका समस्या समाधान गर्ने बौद्धिक उपकरणको ज्ञान तथा जीवन र जगत्लाई बुझ्ने आँखीझ्याल पनि हो । स्वतन्त्र विषयको रूपमा गणितको छुट्टै पठनपाठन स्वाभाविक हो । उच्चशिक्षामा यो भइरहेकै पनि छ । तर, यसो भन्दैमा अन्य विषय छनोट गर्ने विद्यार्थीले गणित पढ्नै नपर्ने, माध्यमिक तहसम्मको गणितले पुग्छ भन्ने ठान्नु पनि सही निष्कर्ष होइन । गणितले हरेक विषयको अध्ययनलाई समृद्ध तुल्याउँछ, विद्यार्थीलाई कुशल र सिर्जनशील बन्न प्रेरित गर्छ भन्ने तथ्यलाई ध्यान दिनु जरुरी छ । त्यसैले माध्यमिक तहसम्म सामान्य गणित र उच्चमाध्यमिक तहमा ऐच्छिक गणितको अलावा विषयअनुसार प्रायोगिक (एप्लिकेबल) गणितको शिक्षण हुनु आवश्यक छ । प्रायोगित गणितअन्तर्गत आलोचनात्मक चिन्तन, विषयसँग सम्बन्धित गणितीय अवधारणा र समस्या समाधानका गणितीय उपाय र अनुसन्धात्मक रणनीतिजस्ता पाठ्यवस्तु समावेश गर्न सकिन्छ ।

कोसेली

बाँच्ने कौशल !

फोकस आउट
- मनोज पौडेल

कपिलवस्तुको तौलिहवास्थित आनन्दवागको एक घरमा पुतलीलाई आहार बनाउँदै– प्रेइङ मेन्टिस । १० देखि १८ सेन्टिमिटरसम्म लामो हुने यो फट्यांग्राले कीरा र पुतलीलाई परैबाट झम्टेर खुराक बनाउँछ । यसले फनक्कै टाउको घुमाउँछ, नजिकका धेरै कुरा देखेरै थाहा पाउँछ । यसले रणकौशल प्रयोग गरेर समातेको पुतलीलाई ३ मिनेट लगाएर खाएको थियो । अगाडिको खुट्टाले प्रे गरेको जस्तो देखिने भएकाले यसलाई प्रेइङ मेन्टिस भनिन्छ । फुकेको टाउको र चेप्टिएको हरियो शरीरका कारण फट्यांग्रा हरियो पात र घाँसजस्तै देखिन्छ ।