You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

राष्ट्रिय सभामा गौतम कि खतिवडा ?

- बिनु सुवेदी

 

(काठमाडौं) - राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने नेकपा केन्द्रीय सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नमान्ने बताएपछि सत्तारूढ दलभित्रको विवाद उत्कर्षमा पुगेको छ । बुधबार आफूसमेत उपस्थित बैठकबाट निर्णय भएको दुई घण्टा नबित्दै ओलीले त्यसलाई नमान्ने भन्दै पार्टी सचिवालयको सिफारिसलाई चुनौती दिएका थिए ।
सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सचिवालयको निर्णय आफूले नमान्ने र अर्थमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य युवराज खतिवडालाई नै निरन्तरता दिने बताएपछि पछिल्लो विवाद बढेको हो । दुई वर्षअघि राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत खतिवडालाई नै फेरि मनोनयन गराउने ओलीको चाहना प्रस्ट रूपमा प्रकट भएको छ ।
यता बुधबार बिहान प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको सचिवालय बैठकले भने खतिवडाको बहिर्गमनपछि राष्ट्रिय सभामा रिक्त हुने उक्त स्थानमा पार्टी उपाध्यक्ष गौतमलाई सिफारिस गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो ।
यससँगै गत शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि बनाएको कार्यदल भंग गर्ने र औचित्य एवं आवश्यकताका आधारमा संविधान संशोधनका लागि छलफल अघि बढाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले बताए । ‘गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने सचिवालयको सर्वसम्मत निर्णय हो, यही निर्णय नै लागू हुन्छ,’ उनले कान्तिपुरसँग भने । यसअघि अध्यक्ष ओलीसँग निकट मानिने महासचिव पौडेलले सचिवालयको बहुमतले गरेको निर्णयतर्फ आफूलाई उभ्याएका छन् ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय भएको जानकारी पत्रकारलाई गराएका थिए । ‘पछाडिको डेभलपमेन्ट के भयो थाहा छैन, सचिवालय बैठकले वामदेवजीलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो,’ प्रवक्ता श्रेष्ठले कान्तिपुरसँग भने ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू आफ्नै अध्यक्षतामा बसेको निर्णयविरुद्ध जानुहुन्छ भनेर त सोच्न पनि सक्दैनौं ।’
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली भने बहुमतका आधारमा सचिवालय सदस्यहरूले आफूलाई पेलेको भन्दै रुष्ट बनेका थिए । नेता नेपालसँग टेलिफोनमा असन्तुष्टि जनाएसँगै उनले नेपाललाई बुधबार अपराह्न ४ बजे पुनः प्रधानमन्त्री निवास बोलाएका थिए । त्यहाँ सुरुमा नेपालसँग मात्रै भेटेका ओलीले त्यसपछि रक्षामन्त्री ईश्वर पोखरेल र आफ्नो सचिवालयका केही सदस्यहरूसँग छलफल गरे । उक्त परामर्श बैठकमा गौतम ‘घरि संविधान संशोधन नगरी राष्ट्रिय सभामा जान्नँ भन्ने, घरि यही अवस्थामा पनि जान्छु भनेर चिसै
पानीले नुहाउनुको पछाडि गम्भीर खेल रहेको’ निष्कर्ष निकालिएको थियो, उपस्थित स्रोतले जानकारी दियो ।
नेपालसँगको भेटमा ओलीले अर्थमन्त्री खतिवडालाई नै राष्ट्रिय सभा सदस्यका रूपमा निरन्तरता दिने बताएका थिए । ‘गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न सिफारिस गर्ने निर्णय पो भएको हो, कहिले सिफारिस गर्ने भन्ने त भएको छैन,’ ओलीले नेपाललाई भनेको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो ।
नेपालसँगको छलफलपछि ओलीले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग पनि परामर्श गरेका छन् । ओलीको असन्तुष्टि बाहिरिनुअघि नै उनीनिकट केही नेताहरूले गौतमलाई राष्ट्रिय सभामा पठाउने सहमति सैद्धान्तिक मात्रै भएको र यही फागुन २० गते पठाउने विषयमा कुनै सहमति नभएको दाबी गरेका थिए ।
‘पहिलो कुरा गत मंसिर ४ गतेको निर्णयअनुसार सरकार ओली र दाहालले दल चलाउने कुरा भएको थियो, स्थायी र केन्द्रीय कमिटीको बैठकमा दाहालको भूमिका धेरै थियो,’ ओलीनिकट एक उच्च नेताले कान्तिपुरसँग भने, ‘तर गुटै बाँधेर प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने गरी निर्णय त गर्नु भएन नि π’
बुधबार बिहान बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने प्रस्ताव गरेका थिए । ‘संविधान संशोधनको विषय अहिले नै बाहिर नलैजाने भनेर निर्णय गरियो, बाहिरियो, खासै राम्रो सन्देश गएन,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै सचिवालय स्रोतले भन्यो, ‘अहिले कार्यदल विघटन गरौं, वामदेवजी निःसर्त राष्ट्रिय सभामा जानुस् ।’
लगत्तै बोलेका वरिष्ठ नेता नेपालले पनि खास समय आएपछि संविधान संशोधन भई नै हाल्ने बताउँदै अहिले भने निःसर्त राष्ट्रिय सभामा जाँदा हुन्छ भनेर गौतमलाई सुझाव दिएका थिए ।
नेपाल र दाहालको प्रस्तावमा सचिवालयका आठैजना सदस्यको सहमति थियो । ‘बाँकी रहेका एक सदस्य एवं प्रधानमन्त्री ओलीले त्यसप्रति त्यहाँ असहमति जनाउनुभएको थिएन,’ सचिवालय स्रोतले उल्लेख गर्‍यो ।
‘सबै कमरेडले जानुपर्छ भन्नुहुन्छ भने म जान्छु,’ गौतमले बैठकमा भने, ‘संविधान संशोधनका लागि सैद्धान्तिक रूपमा सबैले सहमति जनाएकै कुरा हो । कुनै न कुनै बेला संविधान संशोधनका लागि उपयुक्त समय आउला नि त π’
उनले पार्टीभित्रैबाट अनावश्यक हल्ला फिँजाएर सधैं आफ्नाविरुद्ध मात्रै ‘खेल खेल्ने’ गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । ‘संविधान संशोधनसम्बन्धी निर्णय बाहिर नलैजाने भनिएको थियो, तर प्रधानमन्त्रीज्यूकै सचिवालयबाट त्यसलाई सार्वजनिक गरियो, कहाँबाट कसरी सूचना चुहियो मसित प्रमाण नै छ,’ गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मलाई बदनाम गराउने काम मात्रै भयो, यस्तै गर्दै जाने हो भने त पार्टीबाटै निकाल्दिनुस् बरु π’
उपाध्यक्ष गौतमले असन्तुष्टि जनाएपछि अध्यक्ष दाहालले निर्णयमा प्रतिबद्ध हुनुपर्ने बताएका थिए । गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सबै सदस्य सहमत भएपछि बोलेका प्रधानमन्त्री ओलीले भने आफूलाई अप्ठ्यारोमा पारिएको भन्दै आक्रोश पोखेका थिए । ‘पहिले १६ जनालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गर्दा वामदेवजी संविधान संशोधन हुने ग्यारेन्टी नभएसम्म जान्न भनेर अडानमा बस्नुभयो, अहिले घुमिफिरी त्यही निर्णयमा सहमत हुनुभयो,’ प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘मलाई सधैं अप्ठ्यारोमा पार्ने काम मात्रै गर्नुहुन्छ, पहिले मैले भनेको बेलामा राष्ट्रिय सभामा जान सहमत भएको भए के बिग्रिन्थ्यो ?’
प्रधानमन्त्रीले पार्टीमा ‘आफूविरुद्ध भयंकर खेल्न’ थालिएको भन्दै त्यसको मुकाबिला गर्न सक्षम रहेको बताएका थिए । केहीअघि प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारलाई ढाल्ने कसरत भइरहेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि पोखेका थिए ।
स्रोतका अनुसार मंगलबार साँझ दाहाल निवास खुमलटारमा बसेको अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष गौतमबीच भएको छलफलमा गौतमलाई निःसर्त राष्ट्रिय सभा सदस्य बन्न सहमत गराइएको थियो । मंगलबार साँझ चार नेताबीच भएको सहमतिअनुसार नै अध्यक्ष दाहालले गौतमलाई निःसर्त राष्ट्रिय सभा सदस्य बन्न प्रस्ताव गरेको र खनाल तथा नेपालले त्यसप्रति समर्थन जनाएको ओली पक्षधरको बुझाइ छ । ‘देशको अर्थतन्त्र सही ट्र्याकमा गएका बेला विभिन्न व्यापारिक घरानाहरूको स्वार्थमा अर्थमन्त्री खतिवडालाई रोक्न यस्तो खेल खेलिएको छ,’ ओलीनिकट एक नेताले
कान्तिपुरसँग दाबी गरे ।
प्रधानमन्त्री ओलीले खतिवडाको साटो गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालयको निर्णय मान्न आफू बाध्य नभएको बताएपछि नेकपाभित्र चर्किएको विवादको अवतरण कसरी हुन्छ भन्ने प्रस्ट छैन ।


४ दिने घटनाक्रम
शनिबार
नेकपा सचिवालयमा संविधान संशोधन कार्यदल गठन, निर्णय गोप्य राख्ने सहमति ।
आइतबार
प्रधानमन्त्रीनिकट नेताहरूबाट कार्यदल गठनको सूचना सार्वजनिक, कार्यदल सदस्यहरूद्वारा अनभिज्ञता प्रकट, केही नेताद्वारा खण्डन । माधव नेपाल र ईश्वर पोखरेलबीच कोटेश्वरमा भेट ।
सोमबार
कार्यदल संयोजक नेपालद्वारा सदस्यहरू सुवास नेम्बाङ र खिमलाल देवकोटासँग आफ्नै निवासमा अनौपचारिक छलफल । सदस्यहरूद्वारा कार्यदलको औचित्यमाथि प्रश्न । दिउँसो पुष्पकमल दाहाल, नेपाल र विष्णु पौडेलबीच धुम्बाराहीमा कुराकानी ।
मंगलबार
ओलीसँग दाहाल र नेपालको छुट्टाछुट्टै भेट । साँझ खुमलटारमा दाहाल, नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच कुराकानी । संविधान संशोधनबिनै राष्ट्रिय सभामा जान गौतम तयार ।
बुधबार
बिहान ओली–दाहाल छलफल । दिउँसो सचिवालयद्वारा गौतमलाई राष्ट्रिय सभामा लैजाने र संविधान संशोधन अध्ययन कार्यदल भंग गर्ने निर्णय । बैठकपछि ओलीद्वारा सचिवालयको निर्णय नमान्ने घोषणा । साँझ ओली–नेपाल भेट । ओली समूहको छुट्टै बैठक ।

मुख्य पृष्ठ

एकै दिन ४ अर्बको सेयर

बैंकिङ, लघुवित्त, बिमा, जलविद्युत्, होटल र उत्पादन तथा प्रशोधन समूहका केही कम्पनीको चलखेल भएको आशंका
- यज्ञ बञ्जाडे

(काठमाडौं) - सेयर बजारमा बुधबार ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक यस दिन झन्डै ५१ अंकले बढेर १ हजार ५ सय ९३.१३ विन्दुमा पुग्यो । अघिल्लो दिन ४३.०२ अंकले बढेको थियो । आइतबार ३ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो । १२ उपसमूहको परिसूचक उकालो लागेपछि बुधबार समग्र नेप्से उच्च अंकले बढेको हो । अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमनको चर्चासँगै सेयर कारोबार बढ्नुलाई जानकारहरूले ‘अर्थपूर्ण संयोग’ मानेका छन् ।
केही कम्पनीको कारोबार छोटो समयमै धेरै अंकले बढ्नुमा पर्याप्त प्राकृतिक आधार नदेखिएको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । ‘निर्जीवन बिमा, लघुवित्त, जलविद्युत्, उत्पादन तथा प्रशोधनलगायत समूहअन्तर्गतका केही कम्पनीको सेयर कारोबार धेरै बढ्नुमा पर्याप्त आधार देखिँदैन,’ उनले भने । बजारलाई धितोपत्र बोर्डले निरन्तर सूक्ष्म रूपले हेरिरहेको जानकारी दिँदै उनले डराइहाल्नुपर्ने अवस्था नरहेको बताए ।
‘लगानीकर्ताले राम्रा कम्पनी छानेर लगानी गर्नुपर्छ,’ उनले भने । बुधबार ३२ हजार १ सय ५४ वटा सेयर कारोबार हुँदा करिब ९९ लाख ७ हजार कित्ता सेयरको किनबेच भएको छ ।
ती कारोबारमा करिब १६ हजार लगानीकर्ता सहभागी भएको नेप्सेले जनाएको छ । दुई सातायता नेप्से निरन्तर उकालो लागिरहेको छ । पछिल्ला १३ दिनमा ११ दिन नेप्से परिसूचक बढ्यो भने २ दिन घट्यो । ११ दिनमा नेप्से परिसूचक करिब २ सय ८० अंकले माथि उक्लियो । दुई दिनमा करिब साढे ३ अंकले मात्र बजार तल झर्‍यो ।
केही दिनयता धेरै नयाँ लगानीकर्ता भित्रिएका छन् । बजार बढेको देखेर आएका लगानीकर्ताले कम्पनी छनोटमा ध्यान नदिँदा नोक्सानको सम्भावना पनि रहेको जानकारहरू बताउँछन् । ‘बैंकिङ उपसमूहको परिसूचक र समग्र नेप्से परिसूचकको अन्तर सम्भवतः हालसम्मकै धेरै हो,’ नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलले भने, ‘यसको अर्थ बैंकिङ उपसमूहको परिसूचक अझै अन्डरभ्यालुड (यथार्थभन्दा कम) छ ।’ उनका अनुसार बिमा, लघुवित्त, होटल, जलविद्युत्, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ओभरभ्यालुड (यर्थाथभन्दा बढी) देखिन्छ । यसकारण लगानीकर्ताले हल्लाको भरमा नलागी कम्पनीको आधारभूत र प्राविधिक पक्ष विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने उनको सुझाव छ । ‘केही कम्पनीको कारोबारले बजार विवेकशील छैन कि भन्ने संकेत पनि देखाएको छ,’ उनले थपे ।
पछिल्लो समयमा बजारमा देखिएको वृद्धि स्वाभाविक भएको ब्रोकरहरूको दाबी छ । ‘बजार आफ्नै गतिले अघि बढेको छ, अस्वाभाविक गतिविधि देखिएको छैन,’ स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले भने, ‘अनलाइन कारोबार बढेपछि कारोबार रकम पनि बढेको छ । यसले बजारको दिगोपनको संकेत गर्छ ।’
सेयर कारोबारको वृद्धिसँगै अस्वाभाविक गतिविधि पनि बढेको छ । ‘बजारमा चलखेल बढेको छ, सीमित व्यक्तिको हातमा रहेका सेयर एकीकृत गरी निश्चित समूहले कृत्रिम रूपमा सेयर घटाउने–बढाउने गरिरहेको देखिन्छ,’ सरोकारवाला एक अधिकारीले भने, ‘कमजोर नियामक निकायको फाइदा ती समूहले उठाएका छन् ।’ खासगरी बैंकिङ, लघुवित्त, बिमा, जलविद्युत्, होटल र उत्पादन तथा प्रशोधन समूहका केही कम्पनीको सेयर कारोबारमा यस्तो चलखेल भएको उनले दाबी गरे । ‘फ्रन्टलाइन रेगुलेटर नेप्से र नियामक निकाय धितोपत्र बोर्ड निकम्मा भए,’ उनले भने, ‘अहिले सेयर बजारमा केही ठूला/संस्थागत लगानीकर्ता र ब्रोकरको मिलोमतोमा सेयर बढाइएको छ ।’ बजार यसरी बढ्दा सीमित लगानीकर्ताले मुनाफा पाए पनि बहुसंख्यक साना लगानीकर्तालाई नोक्सान हुने उनले बताए । ‘बहुसंख्यक लगानीकर्ता सेयर बढेको देखेर हचुवामा बजार छिरेका छन्,’ उनले भने, ‘साना लगानीकर्तालाई सचेत गराउनु जरुरी छ ।’
एक–दुई दिनयता बजार परिपक्वतातर्फ लागेको संकेत देखिए पनि जोखिम उच्च रहेको एक जानकारले बताए । ‘केही राम्रा वाणिज्य बैंकको मात्र सेयर मूल्य बढेको छ, यो राम्रो संकेत हो,’ उनले भने, ‘तर लघुवित्त, बिमा, जलविद्युत्लगायत समूहका नराम्रा कम्पनीको सेयर मूल्य पनि धेरै माथि पुगेको छ । यो स्वाभाविक लाग्दैन ।’
उनका अनुसार अवस्था राम्रो नभएका जलविद्युत्, उत्पादन तथा प्रशोधनलगायत समूहका संस्थापक लगानीकर्ताले ठूलो परिणाममा धमाधम सेयर बिक्री गरिरहेका छन् । यसले ती समूहको सेयर परिसूचक बढेको पनि देखिन्छ । परिसूचक बढेको देखेर साना लगानीकर्ताले ती कम्पनीकै सेयर किनेका छन् । एक–दुई दिनमा ठूला लगानीकर्ताले सेयर बिक्री गर्छन् । त्यसपछि सेयर मूल्य घट्छ । यस्तो अवस्थामा साना लगानीकर्ता नराम्रोसँग फस्छन् ।
एक ब्रोकरले बैंकबाट सजिलै ऋण पाइएपछि बजार बढेको तर्क गरे । बैंकले सेयरमा लगानी बढाएको सत्य भए पनि दुई सातायता मात्र बजार बढ्नुको कारण भेटिँदैन । चालु आर्थिक वर्ष सुरु भएदेखि नै बैंकहरूको ऋण प्रवाहदर सुस्त छ । त्यसपछि बैंकहरूले सेयर कर्जा बढाएका हुन् । किनकि सेयर कर्जामा जोखिम भए पनि ब्याजदर धेरै लिन पाइन्छ, सेयर मूल्य घटे ‘मार्जिन कल’ मार्फत पैसा उठाउन सकिन्छ । एकनास उच्च दरले उकालो लागेको बजारमा यसैगरी गिरावटको सम्भावना पनि रहेकाले लगानीकर्ता सचेत बन्नुपर्ने अर्का एक लगानीकर्ताले बताए । ‘बजार बेलुनजस्तै बढेको छ, बेलुन जतिबेला पनि फुट्न सक्छ,’ उनले भने, ‘अहिलेको बजारलाई अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमनसँग पनि जोडिएको छ । जुन विवेकशील तर्क होइन ।’ लगानीकर्ताले हल्लाको भरमा नलागी कम्पनीको वित्तीय अवस्था हेरेर मात्र लगानी गर्नॅपर्ने उनले बताए । लगानीकर्ताको सम्पत्ति र हकहित संरक्षण गर्ने दायित्व बोकेको नियामक निकाय पनि चनाखो हुने बेला आएको उनको भनाइ छ । ‘धितोपत्र बोर्ड र नेप्से परिसूचक हेर्दै मक्ख हुने होइन,’ उनले भने, ‘भित्री चलखेल नियन्त्रण गरी सम्भावित जोखिम न्यूनीकरणमा लाग्नुपर्छ ।’

मुख्य पृष्ठ

राष्ट्रपति आउँदा बिदा !

- कान्तिपुर संवाददाता

बैतडी/दार्चुला (कास)– मन्दिरमा पूजा र भवन उद्घाटनको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि बैतडी र दार्चुलाका दुई/दुई पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । बैतडीका पाटन नगरपालिका र दशरथचन्द नगरपालिका तथा दार्चुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले बिहीबारका लागि सबै कार्यालय र शैक्षिक संस्था बन्द गरेका हुन् । उनीहरूले राष्ट्रपतिलाई नागरिक अभिनन्दन पनि गर्ने घोषणा गरेका छन् । आफ्ना गाउँ र नगरवासीका लागि सूचना जारी गर्दै राष्ट्रपतिको स्वागतमा भेला हुन भनेका छन् । विद्यार्थीलाई अनिवार्य सहभागी हुन भनिएको छ ।
राष्ट्रपति भण्डारीले बिहीबार पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको भवन र छात्रावास उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि दशरथचन्द नगरपालिकास्थित त्रिपुरासुन्दरी मन्दिरमा पूजा गर्ने दशरथचन्दका नगरप्रवक्ता चक्रप्रसाद शर्माले बताए । राष्ट्रप्रमुख जिल्ला आउँदा सार्वजनिक बिदा दिनु राम्रो निर्णय भएको उनले दाबी गरे । पाटन र दशरथचन्द नगरले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
सार्वजनिक बिदा दिने निर्णयले बालबालिकाको पढाइ प्रभावित हुने शिक्षकहरूले बताए् । ‘राष्ट्रप्रमुख आउँदा कार्यक्रमस्थल नजिकका विद्यालयका विद्यार्थी जानु, स्वागत गर्नु ठिकै भए पनि सबै विद्यालय बन्द गर्न जरुरी थिएन,’ दशरथचन्द माविका प्रधानाध्यापक तेजप्रकाश
भट्टले भने ।
राष्ट्रपतिले बिहीबारै मालिकार्जुन गाउँपालिकास्थित मालिकार्जुन मन्दिरमा विशेष पूजापाठ गर्ने कार्यक्रम छ । जिल्लाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गर्दै स्वागतका लागि उपस्थित हुन सर्वसाधारणलाई सूचना जारी
गरेका छन् ।
शैल्यशिखर नगर कार्यपालिकाको बुधबारको बैठकले बिदा दिने निर्णयसँगै नगरवासीलाई राष्ट्रपतिको स्वागतका लागि उपस्थित हुन अनुरोध गर्दै सूचना जारी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणप्रसाद जोशीले जानकारी दिए । नागरिक अभिनन्दन र स्वागतका लागि गाउँपालिकाले बिदा दिने निर्णय गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए ।

सरकारको एक सय गन्तव्यअन्तर्गत परेको मालिकार्जुन क्षेत्रमा राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा विद्यालय प्रांगणमा कार्यक्रम हुँदै छ । त्यहाँ पञ्चकन्याले स्वागत गर्ने र मालिकार्जुन क्षेत्रको स्थानीय कला–संस्कृति, सगुन, झोडो, ढुस्को प्रदर्शनीको तयारी गरिएको धामी बताउँछन् ।
राष्ट्रपति दर्शन गर्न आउने भएपछि मालिकार्जुन मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले ४० नेपाली सेना, १२० नेपाल प्रहरी, ७० जना सशस्त्र प्रहरीसँगै सादा पोसाकका सुरक्षाकर्मी खटाइएको जनाएको छ । राष्ट्रपति भण्डारी बिहान १० बजे मालिकार्जुन मन्दिर परिसरमा निर्माण गरिएको हेलिप्याडमा अवतरण गर्ने समयतालिका छ । राष्ट्रपतिले मालिकार्जुनमा २ घण्टा बिताउने स्थानीय प्रशासनले जनाएको छ ।

Page 2
समाचार

'अब शेरबहादुरजीलाई रोक्छु'

‘शेरबहादुरजीले पार्टी चलाउन सक्नुभएन । कार्यकाल लम्ब्याएर पार्टीलाई अप्ठ्यारामा पार्ने बाटामा उहाँ लाग्नुभएको छ ।’
- कुलचन्द्र न्यौपाने

(काठमाडौं) - कांग्रेसको गैरसंस्थापन पक्षमा सभापतिको प्रत्याशी को हुने भन्ने दौडधुप चलिरहेका बेला महामन्त्री शशांक कोइरालाले फागुन १ गते उत्तरप्रदेश, भारतका मुख्यमन्त्री योगी आदित्यनाथसँग गरेको भेटवार्ता अहिले चर्चामा छ । कोइरालाको उक्त भेटलाई पार्टीको आसन्न महाधिवेशन र ‘हिन्दु राज्य’ को मुद्दासँग जोडेर हेर्ने गरिएको छ ।
केही समयअघि स्वास्थ्य परीक्षण गर्न दिल्ली पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलको भारतीय जनता पार्टीका पूर्वअध्यक्ष एवं रक्षामन्त्री राजनाथ सिंहसँग भेटेका थिए । जसको चर्चा नसेलाउँदै कोइरालाले भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदीका विश्वासपात्र आदित्यनाथलाई भेटेका हुन् ।
कोइराला इन्डिया फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान र नेपाल–भारत च्याम्बर अफ कमर्स इन्डस्ट्रीले संयुक्त रूपमा माघ २९ देखि फागुन १ सम्म आयोजना गरेको कार्यक्रममा सहभागी हुन उत्तरप्रदेश पुगेका थिए । आयोजकले योगी सहभागी हुने कार्यक्रममा कांग्रेसबाट महामन्त्री कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई बोलाएका थिए । नेपाल र भारतबीचको बहुपक्षीय विषयमा भएको संवाद कार्यक्रममा अन्य राजनीतिक दलका नेतासमेत आमन्त्रित थिए ।
कांग्रेस नेता रिजालका अनुसार कोइराला र योगीसँगको भेटवार्ता छुट्टै भएको थियो । उनीहरूबीचको भेट औपचारिकतामा मात्रै सीमित थिएन । पार्टीको आसन्न महाधिवेशन र नेपालको पछिल्ला घटनाक्रममाथि खुलेरै कुराकानी भएको थियो । भारतसँग कोइरालाहरूको पुरानो सम्बन्ध र बीपीकै छोरा भएका कारण पनि योगीले कोइरालासँगको भेटलाई बढी महत्त्व दिएको रिजालको बुझाइ छ ।
नेपालमा हिन्दु राज्य स्थापना हुनुपर्छ भन्ने भनाइ बेलाबखत सार्वजनिक रूपमै प्रकट गर्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथसँग कोइरालाको भेटलाई पार्टीकै कतिपय नेताहरूले महाधिवेशनभन्दा पनि धर्मसँग जोडेर हेर्ने गरेका छन् । कोइराला भने धर्मबारे कुराकानी नै नभएको दाबी गर्छन् । ‘पार्टीको महाधिवेशन र सरकारका विषयमा कुराकानी भयो । धर्मका बारेमा कुराकानी नै भएन,’ उनले कान्तिपुरसँग भने, ‘धेरैजसो त पार्टीको आसन्न महाधिवेशनकै बारेमा उनीहरूको पनि चासो देखियो । हाम्रो कुराकानी पनि त्यसैमा बढी केन्द्रित भयो ।’
धर्मबारे आफ्नो दृष्टिकोणमा कुनै हेरफेर नभएको भने उनले बताए । ‘धर्म निरपेक्षता हटाउनै पर्छ, अहिले पनि मेरो धारणा त्यही हो । तर दुई तिहाइको समर्थन अर्कोतिर छ । अहिल्यै हट्ने सम्भावना छैन,’ उनले भने, ‘धर्मसापेक्ष र निरपेक्ष दुवै हुनु हुन्न, स्वतन्त्र हुनुपर्छ भन्नेमा म स्पष्ट छु ।’ ...
कोइराला कार्यकर्ताको कुरा सुन्छन्, प्रतिक्रिया दिनुपर्ने भए मात्रै एक/दुई वाक्य बोल्छन् । नत्र मुसुक्क हाँसेर टारिदिन्छन् । आफ्नै बारेमा जति कटु आलोचना गरे पनि त्यसको प्रतिक्रिया उनको हाँसो हुन्छ । कसैलाई बिझाउँदैनन् ।
संसद्मै कोइरालाले दुई वर्षमा दुई पटक मात्रै बोलेका छन्, एकपटक सभामुख निर्वाचित भएपछि कृष्णबहादुर महरालाई बधाई दिने क्रममा र अर्कोपटक सरकारको नीति तथा कार्यक्रममाथि । पार्टीको केन्द्रीय कार्यसमितिमै उनी हतपत बोल्दैनन् । उनको भूमिकासमेत अर्का महामन्त्री पूर्णबहादुर खड्काले निर्वाह गरिरहेका हुन्छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको हरेक गल्तीमा साक्षी बनेको आरोप शशांकलाई आफ्नै समूहबाट समेत लाग्दै आएको छ । पार्टीभित्र उनको सबैभन्दा ठूलो पुँजी बीपीको विरासत हो ।
तत्कालीन सभापति सुशील कोइराला त्यस्तै नबोल्ने नेतामा पर्थे । उनलाई संसद्मा ‘ब्याकबेन्चर’ भनिन्थ्यो । संसद् प्रवेशको सुरुवाती कालखण्डमा उनी पछिल्लो बेन्चमा बस्थे । जिब्रोको क्यान्सरका कारण उनको बोली पनि स्पष्ट थिएन । बोली स्पष्ट भए पनि शशांक भने आमसभामै दुई, तीन मिनेटभन्दा बढी बोल्दैनन् । संसद्को नीति तथा कार्यक्रममाथि बोल्दा
उनले जम्मा एक मिनेट बोलेका थिए । पार्टी पदाधिकारी हुनुअघि उनी पनि संसद्को पछिल्लो बेन्चमा हुन्थे ।
पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शशांक आसन्न महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा छन् । एक वर्षअघि विराटनगरबाट उनले उम्मेदवारी घोषणासमेत गरेका थिए । उनको घोषणालाई लिएर आन्तरिक गुटको बैठकमा आलोचना भयो । उम्मेदवार घोषणाको प्रतिस्पर्धाले पार्टी सभापति देउवालाई लाभ पुग्ने ठानेर संस्थापन इतरपक्षमा कसैले पनि सार्वजनिक रूपमा उम्मेदवार घोषणा नगर्ने सहमति बन्यो ।
पछिल्लो समय सार्वजनिक रूपमा उम्मेदवार हुँ नभने पनि शशांकको गतिविधि बदलिएको छ । साढे तीन वर्ष पार्टी सभापति देउवालाई सहयोग गरेका उनी ६ महिनायता सबैभन्दा बढी विरोधीका रूपमा देखिएका छन् । सार्वजनिक रूपमा देउवालाई अक्षम र पार्टी चलाउन नसक्ने नेता भनी आलोचना गरेका छन् ।
बाहिरी गतिविधि कम तर भित्रभित्रै सभापतिका लागि तयारी थालेका शशांकको भारत साइनो पनि त्यसैसँग जोडिन पुगेको छ । उनी निकट एक नेताका अनुसार योगीसँगको भेटवार्ता एजेन्डा जेजस्ता भए पनि भारतसँगको सम्बन्ध विस्तार गर्नकै लागि थियो । शशांकका लागि उम्मेदवार बन्न भने परिवारभित्रै दाजु शेखरको चुनौती छ । शेखर दुई वर्षदेखि नै सभापतिको प्रत्याशीका लागि दौडधुपमा छन् । राजधानीभन्दा बाहिर जिल्लामा उनको बसाइ बढी छ । शशांक बीपी पुत्र हुन् भने शेखर बीपीका भाइ केशवका छोरा हुन् । विरासतको लाभको हिसाबले शेखरभन्दा शशांक अघि देखिन्छन् । क्रियाशीलता शेखरको बढी छ । यति हुँदाहुँदै पनि संस्थापनइतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल मुख्य दाबेदारका रूपमा छन् । उनी आफैं उम्मेदवार हुनेमा ढुक्क देखिन्छन् तर शशांक र शेखरलाई मनाउनु नै पौडेललाई फलामको चिउराजस्तै छ । गणेशमान पुत्र प्रकाशमान सिंह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि आकांक्षी हुन् ।
शशांकले देउवा फेरि सभापति भए कांग्रेस धेरै कमजोर हुने दाबी गरे । ‘अब शेरबहादुरजीबाट पार्टी चल्दैन,’ उनले कान्तिपुरसित भने, ‘म सभापति हुने/नहुने भन्दा पनि कसरी शेरबहादुरजीलाई नेतृत्वमा आउनबाट रोक्ने भन्नेमा बढी ध्यान मेरो छ ।’
संस्थापनइतर पक्षमा जति प्रतिस्पर्धी देखिए पनि अन्तिममा एक जना मात्रै उम्मदेवार हुने दाबी शशांकले गरेका छन् । ‘एक भएन भने त फेरि पनि शेरबहादुरजीले नेतृत्व हत्याउनुहुन्छ । त्यसैले हामीबीच सल्लाह हुँदै छ,’ उनले भने ।

समाचार

‘कांग्रेस कोइरालाहरूको मात्रै बपौती हो र ?’

- कान्तिपुर संवाददाता

भारत किन जानुभएको थियो ?
सेमिनार थियो । त्यसैमा गएको हो । यूपीका मुख्यमन्त्री आदित्यनाथ योगीजीसँग भेटवार्ता भयो ।
छुट्टै भेटवार्ता ?
हो भयो । हामीले कुरा राख्यौं, दुई देशका विकासका बारेमा । अहिलेको सरकारप्रति उनीहरू पनि सन्तुष्ट भएको पाइएन ।
कांग्रेसकै विषयमा कस्तो चासो रहेछ ?
आगामी महाधिवेशनका विषयमा कुराकानी भए । पार्टी सभापति शेरबहादुरजीप्रति उनीहरूको धारणा सकारात्मक भएको पाइनँ ।
तपाईं र योगीबीचको धर्मको ॅकनेक्सन’लाई लिएर टीकाटिप्पणी भइरहेको छ नि ?
धर्मबारे कुरा नै भएन ।
तपाईंको ॅलाइन’ त हिन्दु राज्य स्थापना गर्नुपर्छ भन्ने हो नि, हैन ?
त्यहाँ त्यस्तो कुरा भएन तर म प्रस्ट छु, धर्म निरपेक्ष राख्न हुन्न । धर्म स्वतन्त्र हुनुपर्छ ।
महाधिवेशनका लागि पार्टीभित्र तपाईंको तयारी कस्तो छ ?
अब १४ औं महाधिवेशनमा शेरबहादुरजीलाई नेतृत्वमा आउन नदिनका लागि म लागेको छु ।
तपाईंहरू (संस्थापनइतर पक्ष) नै विभाजित हुनुहुन्छ भने कसरी सम्भव हुन्छ ?
त्यसैका लागि मेरो ध्यान केन्द्रित छ । हामी एक भएनौं भने फेरि शेरबहादुरजीले नेतृत्व लिनुहुन्छ । त्यसैमा ध्यान दिनुपर्छ । एउटै उम्मेदवार हुने विषयमा छलफल भइरहेको छ । खालि को हुने भन्ने मात्र हो ।
तपार्इं र शेखर कोइरालामध्ये एक हो
भन्छन् नि ?
रामचन्द्र दाइ पनि हुनुहुन्छ ।
कोइरालाले नेतृत्व लिनुपर्छ भन्ने धारणा तपार्इंहरूको हो ?
के कांग्रेस कोइरालाहरूको बपौती हो र ? त्यो त होइन नि । हामीबीच मिल्ने कुरा भइरहेको छ । समय छ ।
पार्टी सभापतिको चार वर्षको कार्यकाललाई कसरी लिनुहुन्छ ?
पार्टीलाई चारैतिर आक्रमण हुँदा समेत नेतृत्वले केही गर्न सकेन । कांग्रेसकै साथीहरू रिसाएका छन् । शेरबहादुरजीले पार्टी नै चलाउन सक्नुभएन, गति दिन सक्नुभएन । उहाँको केही भिजन नै रहनेछ ।
तपाईंहरूले सहयोग गर्दिनुभएन भन्ने छ नि ?
शेरबहादुरजीलाई मैले सधैं सहयोग गरेँ । कहिल्यै बाधक बनिनँ । चुनावमा पार्टी पराजित भयो । त्यतिबेला शेरबहादुरजीका टाउकामा मात्रै दोष हालेर हुँदैन भनेर मैले नै बचाएको हो । हामी पनि निर्णय गर्ने ठाउँमा छौं भनेर बचाएको हो । त्यसपछि पनि गति लिन सक्नुभएन ।
पार्टी सभापतिसँग तपाईंको कुराकानी
कत्तिको हुन्छ ?
बैठकमा मात्रै हुन्छ । पहिला जस्तो कुराकानी हुन्न ।
नेतृत्वले गल्ती गर्दा पनि तपार्इं किन मौन बस्दै आउनुभएको ?
हो, विरोध गरिनँ । मैले नै विरोध गरेको भए बाहिर पार्टी सभापति कमजोर भएको सन्देश जान्थ्यो । अब त महाधिवेशन पनि आइसकेको छ । उहाँले केही पनि गर्न
सक्नुभएन । अब त बोल्नैपर्छ भनेर बोल्न थालेको हो ।
सभापतिले कांग्रेसलाई पुरानै अवस्थामा लैजान्छु भन्नुभएको छ नि ?
यो त सबैले भन्ने कुरा हो । फेरि शेरबहादुरजी नै सभापति बन्नुभयो भने पार्टी झनै खत्तम हुन्छ । भिजन नभएको नेताबाट पार्टी चल्दैन ।
तपाईंको भिजन के छ ?
पार्टी एक गराउने र सरकारमा लैजाने हैसियतमा पार्टीलाई पुर्‍याउने भिजन मसँग छ ।
महाधिवेशन तयारी अघि बढेको हो ?
केही बढेको छैन । क्रियाशील सदस्यता वितरण र नवीकरण भएको छैन । समायोजनको काम सकिएको छैन । तोकिएकै मितिमा महाधिवेशन हुनेमा आशंका बढ्दै छ ।
किन तयारी अघि नबढेको ?
शेरबहादुरजीले चाँडै महाधिवेशन गराउन नै खोज्नुभएको छैन । कार्यकाल लम्ब्याइराख्ने र पार्टीलाई अप्ठ्यारामा पार्ने काम उहाँले गर्न खोज्दै हुनुहुन्छ । हामी छिटो गर्नुहोस्
भन्दै दबाब दिँदै आएका छौं तर छिटो हुन सकेको छैन ।

समाचार

राणा रिम्पोछे

कुनै बेला भिक्षुलाई देशनिकाला गर्ने चन्द्रशमशेरका खनाति बुद्ध शिक्षाका विद्याधर महायोगी बनेका छन्
- मनोज पौडेल
लुम्बिनीस्थित मायादेवी मन्दिरमा श्रीधर राणा रिम्पोछे । तस्बिर ः मनोज पौडेल/कान्तिपुर

(कपिलवस्तु) - अघिपछि सुसारे–धराले । जस्तो खोज्यो उस्तै सुविधा । रोजेको लाउन–खान मिल्थ्यो । जे सोच्यो, त्यही पुग्थ्यो । राजसी सुखसयल थियो । राम्रो शिक्षादीक्षा प्राप्त गरेका थिए । तैपनि उनी वंश–परम्परा जोगाउनतिर लागेनन्, शासनसत्तामा ध्यान दिएनन् । सुख–सुविधा र लोभ–मोह त्यागेर बुद्धका सच्चा अनुयायी बने ।
काठमाडौंका ७० वर्षीय श्रीधर राणा रिम्पोछे ध्यानी, तपस्वी, तान्त्रिक, अभ्यासी हुँदै अहिले महायोगी बनेका छन् । उनी पितृवंशमा राणाकालीन महाराज पद्मशमशेरका पनाति हुन्, मातृवंशमा बझाङे राजा जयपृथ्वीबहादुर सिंहका नाति । तत्कालीन डीआईजी नारायणशमशेर र शान्तिशमशेरका जेठा छोरा श्रीधरको सानैदेखि शान्ति र अध्यात्ममा लगाव थियो । सात/आठ वर्षको उमेरमा बाबुआमाले के बन्छस् भन्दा ठूलो तन्त्र अभ्यासी बन्छु भनेको उनी सम्झिन्छन् । ‘त्यतिखेर आमाबाबुले राम्रो मान्नुभएन,’ उनले भने, ‘त्यतिखेर मैले राम्रो भनेको रैछु भन्ने लागेको छ ।’
उनले भारतको नयाँदिल्लीबाट होटल व्यवस्थापनमा उच्च शिक्षा हासिल गरेका छन् । उनी तन्त्रमन्त्रमा विश्वास गर्थे । तान्त्रिक बन्न चाहन्थे । तन्त्रमन्त्रको खोजमा लीन हुन उपसचिवको जागिर त्यागे ।
बझाङको खप्तड स्वामी आश्रममा वेद सिक्न पुगे । त्यहींबाट हिन्दु धर्मसेवक बनेको उनले बताए । केही समय वेद सिके पनि सन्तुष्टि नमिलेपछि फर्किए । त्यसपछि जापानको झेन बुद्ध धर्मको एउटा पुस्तक पढे । त्यसैमा आकर्षण बढ्न थाल्यो । थप अध्ययनका लागि जापान गए । उतै बसे । सधैं जापान बस्न खर्चिलो हुन्थ्यो । आउआउ गर्न पनि गाह्रो भयो । त्यसपछि तिब्बती विद्वान् मिलरेप्पाका पुस्तक अध्ययन गर्न थाले ।
दक्षिणी अमेरिकी साथीमार्फत सन् १९८७ मा नागी गुम्बाका उर्गेन रिम्पोछेसँग भेटेपछि बालापनदेखिका जिज्ञासाको उत्तर पाए । सुरुमा तिब्बतीयन बुद्ध धर्मका बारेमा जानकारी थिएन । आफूले खोजको मोक्ष, ज्ञान र तन्त्रमन्त्र तिब्बतीयन दर्शनमा पाएपछि अनुयायी बने । अवतारी लामा, रिम्पोछे र काठमाडौंका नेवार गुरुबाट बज्रयान बुद्धधर्मका बारेमा ज्ञान हासिल गरे । महत्त्वपूर्ण अभिषेक, साधना उपदेश र आगम प्राप्त गरे । बुद्ध धर्म र शिक्षामा समर्पित भए ।
सन् १९९६ अप्रिलमा बज्रयान परम्पराअनुसार उनी साढे ६ वर्षका लागि गुफावास प्रवेश गरे । फेरि गुरु चोब्ग्य ठ्रिचेन रिम्पोछेको निर्देशनमा साढे ६ वर्ष गुफबास लम्ब्याए । मन्त्र, विद्या, धारणीजस्ता बज्रयानका विषयमा सिद्ध प्राप्त गर्न उनले गुफाबास लम्ब्याएका थिए । २१ वर्षसम्म पूर्ण गुफाबास बिताएपछि सन् २०१७ को मार्चमा उनी पहिलो पटक सार्वजनिक भए । उनको ध्यानको गहिराइ देखेर प्रतिष्ठित रिम्पोछे, गुरु र विद्वान्ले महायोगी, आचार्य, विद्याधर र रिम्पोछेजस्ता बौद्ध आध्यात्मिक उपाधि प्रदान गरेका छन् ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले सन् १९२४ मा पाँच भिक्षुलाई देशनिकाला गर्ने निर्णय लिए । महाप्रज्ञा, महाचन्द्र, महाज्ञान, महावीर्य र महाक्षान्तिलाई देश निकाला गरे । त्यसबेला भिक्षुले ‘हामी गृहस्थमा फर्कंदैनौं, बरु देश छाड्छौं’ भनेका थिए । इतिहास जानकारका अनुसार भिक्षुले आफूहरूसँग केही नभएकाले दुई/चार दिन भिक्षा माग्नका लागि समय दिन आग्रह गरेका थिए । चन्द्रशमशेरले पाँच दिन समय दिए । भिक्षा माग्ने बेलामा दुई जना पुलिस सँगसँगै पठाउँथे । सरकारले त्यतिखेर रक्सी बनाउनेलाई जरिवाना तोकेको थियो । त्यसले रक्सी बनाउने घटेनन् तर भिक्षुले भनेर चार हजार जनाले रक्सी खान छाडेका थिए । तत्कालीन सुब्बाले चन्द्रशमशेरलाई सुनाए, ‘सरकारले भन्दा नमान्ने, भिक्षुले भन्दा रक्सी बनाउन छाड्ने ।’ सुब्बाकै सिफारिसमा पछि अप्ठ्यारो पर्न सक्ने भनेर कठोर निर्णय लिन लगाइएको जानकार बताउँछन् । यस्तो कडा निर्णय लिने चन्द्रशमशेरका खनाति श्रीधरशमशेर बुद्धका ठूला अनुयायी बनेका छन् । चन्द्रशमशेर र पद्मशमशेर काका–भतिजा हुन् ।
‘जंगबहादुरले उपत्यकाका विहार र चैत्य तोडफोड गरेका थिए,’ श्रीधरले भने, ‘विभिन्न बौद्धग्रन्थ र पुस्तक जलाइदिएका थिए ।’ बेलायती नागरिक ब्रायन हडसनले जलाउनुभन्दा आफूलाई दिन भनेपछि नौवटा पुस्तक जंगबहादुरले बेलायत लगेको उनले बताए । पछि नेवार समुदायका व्यक्तिले ती पुस्तक नेपाल फर्काएका थिए । अहिले अनुयायीलाई पुर्खाले गरेका नराम्रो कामको गुन तिरिरहेको उनले बताए । ‘बुद्ध शिक्षामा समर्पित भएर शान्ति र सद्भावका लागि सेतुको काम गरिरहेको छु,’ उनले भने ।
सात दशक उमेर पुग्दासमेत श्रीधरमा युवा जोस छ । धर्मदेशनाका लागि हिँडिरहन्छन् । यात्रा गर्दा झन् ऊर्जा थपिने गरेको बताउँछन् । जीवनशैली पनि गुफाबासजस्तै छ । आफूले प्राप्त गरेको अभिषेक र उपदेश बाँड्न हिँडिरहन्छन् । बुद्धको शिक्षा, चार आर्यसत्य र अष्टांगिक मार्ग व्याख्या गर्दा उपासक/उपासिका ध्यानमा मग्न हुन्छन् । त्यो देखेर उनी आनन्दित हुन्छन् । उनी धर्मदेशना मात्र गर्दैनन्, योग र अभ्यास पनि गराउँछन् । शिष्यानुग्रह भएमा धर्मदेशना गर्न घुमिरहन्छन् । उनी सहज र सरल छन् । त्यही भएर सबैको रोजाइमा पर्छन् । सरस, तार्किक र व्यावहारिक हुँदा उनको धर्मदेशना सुन्न धेरै व्यक्ति लालायित हुन्छन् । विदेशमा पनि उनका अनुयायी उत्तिकै छन् ।
लुम्बिनीमा भर्खरै सम्पन्न तीनदिने प्रथम प्राणीधान मोल्लाम पूजामा उपासिका चन्दा श्रेष्ठ काठमाडौंबाट सहभागी हुन आएकी थिइन् । उनी तीन दिन धर्म लिएर भिक्षु लामाहरूलाई भोजन दान गरी फर्किइन् । यस्ता धेरैलाई उनले शिष्य बनाएका छन् । ठाउँ–ठाउँमा धर्मदेशना गरेर शान्ति र करुणाका सन्देश बाँड्छन् । जबसम्म शान्ति हुँदैन, तबसम्म विकास र समृद्धिले गति लिँदैन भन्ने उनको मान्यता छ । आफूले अहिले स्वास्थ्य र शिक्षा क्षेत्रमा टेवा पुग्ने किसिमका विभिन्न सामाजिक र कल्याणकारी काम गरिरहेको उनले बताए । ‘त्यसकारण शान्ति अनिवार्य छ, देशमा शान्ति हुनका लागि पहिले मानिसमा शान्ति हुनुपर्छ,’ उनले भने, ‘मानिसमा रहेको मोह, माया, क्रोध, लोभ र हिंसा त्याग्न सके मात्र शान्ति आउँछ । बुद्ध शिक्षाको साथर्कता हुन्छ । आफूभित्रको अशान्ति हट्छ । आफूले आफैंलाई चिनिन्छ । परिवार, समाज, गाउँ र समग्र राष्ट्र निर्माणमा टेवा पुग्छ ।’

Page 3
समाचार

सुरक्षा परिषद्को नयाँ विधेयक

- जगदीश्वर पाण्डे

(काठमाडौं) - सरकारले एक वर्षअघि संसद्मा दर्ता गरेको राष्ट्रिय सुरक्षा परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता लिएर नयाँ विधेयक लैजाने भएको छ । राष्ट्रिय सुरक्षा नीति ल्याउनुअघि संसद्मा दर्ता गरिएको विधेयकलाई नयाँ सुरक्षा नीतिअनुसार समृद्ध बनाउन रक्षा मन्त्रालयले अर्को विधेयकको तयारी गरेको हो ।
मन्त्रालयले २०७५ फागुन २९ मा संसद् सचिवालयमा विधेयक दर्ता गरेको थियो । त्यसको अर्को महिना (चैत ४ मा) सरकारले मन्त्रिपरिषद्बाट राष्ट्रिय सुरक्षा नीति २०७३ लाई पुनरावलोकन गरी राष्ट्रिय सुरक्षा नीति २०७५ जारी गरेको थियो । संसद् सचिवालयमा रहेको विधेयकमा सेना परिचालन सम्बन्धमा ‘गम्भीर राष्ट्रिय संकट उत्पन्न भएमा वा तत्काल सेना परिचालन नगरे त्यस्तो संकट उत्पन्न हुने देखिएमा र तत्काल परिषद्को बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि सरकारसमक्ष सिफारिस गर्न सक्ने’ उल्लेख छ । संविधानअनुसार परिषद्का अध्यक्ष प्रधानमन्त्री हुन्छन् ।
प्रधानमन्त्री एक्लैले सेना परिचालन गर्ने प्रावधान राख्न नहुने प्रतिपक्ष र सत्तापक्षकै नेताहरूको निचोड छ । यस्तो प्रावधान फिर्ता लिन माग गर्दै कांग्रेसले संसद् अवरुद्धसमेत गरिसकेको छ । रक्षा मन्त्रालय सम्हालेको दुई वर्ष पुगेको अवसरमा बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नयाँ सुरक्षा नीतिअनुसार विधेयकलाई पुनेर्लेखन गरी दुई साताभित्र संसद्मा दर्ता गर्ने जानकारी दिए ।
सरकारले सुरक्षा नीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार गर्न रक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयका वरिष्ठ प्रतिनिधिहरू र एकजना सुरक्षा विशेषज्ञसमेत रहने गरी नौ सदस्यीय समिति गठन गरेको थियो । समितिले पुस २९ मा मन्त्री पोखरेलसमक्ष कार्ययोजना पेस गरिसकेको छ ।

ॅसैनिक गुप्तचर महानिर्देशनालय अब विभाग’
उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सैनिक गुप्तचर कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै हाल सेनामा रहेको सैनिक गुप्तचर महानिर्देशनालयलाई अब विभागमा रूपान्तरण गर्न खोजिएको बताए । ‘पहिले पनि महानिर्देशनालय छँदै थियो, त्यसैलाई विभागमा रूपान्तरण गर्न खोजिएको हो,’ उनले भने ।
पोखरेलले संसद्मा सैनिक ऐन संशोधन विधेयक टेबुल गरिसकेका छन् । विधेयकमा ‘संवैधानिक दायित्व पूरा गर्न एवं राष्ट्रिय सुरक्षा नीतिबमोजिम शान्ति, द्वन्द्व र युद्धकालीन अवस्थामा सेनाले
आफ्नो जिम्मेवारी प्रभावकारी ढंगबाट बहन गर्न र परिवर्तित परिस्थिति तथा भावी सुरक्षा चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न सैनिक इन्टेलिजेन्सलाई समयसापेक्ष आधुनिकीकरण गरी थप प्रभावकारी बनाउने’ उल्लेख छ ।

समाचार

कोरोना प्रभावले औषधिको कच्चा पदार्थ अभाव

सबैभन्दा बढी कच्चा पदार्थ उत्पादन गर्ने चीनको हुबेईमा उद्योग बन्द, भारतले पनि ‘अर्डर’ रद्द गर्दै
- अतुल मिश्र,दिनेश रेग्मी

(काठमाडौं) - चीनमा कोरोना भाइरस रोग–२०१९ (कोभिड–१९) को प्रभाव व्यापक बन्दा नेपालको औषधि उद्योगमा असर परेको छ । भारतबाट औषधिको कच्चा पदार्थ आउने क्रम रोकिन थालेको छ । भारतमा बढी कच्चा पदार्थ चीनबाट भित्र्याइन्छ ।
बढी कच्चा पदार्थ उत्पादन गर्ने चीनको हुबेई प्रान्त कोभिड–१९ को संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ । संक्रमण सुरु भएपछि त्यहाँ कच्चा पदार्थ उत्पादन गर्ने कारखाना बन्द भएका छन् । भारतीय औषधि उद्योगले त्यहीँबाट सबभन्दा बढी कच्चा पदार्थ वा ‘एक्टिभ फर्मास्युटिकल इन्ग्रेडिएन्ट’ (एपीआई) आयात गर्छन् । पछिल्लो समय भारतले चीनबाट कच्चा पदार्थ आयात गर्न पाएको छैन । त्यसले नेपालको औषधि उद्योगलाई समेत असर गरेको हो ।
नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष जी नारायणबहादुर क्षत्रीले बजारमा औषधि अभाव नदेखिए पनि उत्पादकहरूलाई कच्चा पदार्थको समस्या पर्न थालिसकेको बताए । उनका अनुसार भारतबाट ‘अर्डर’ रद्द हुन थालेको छ ।
औषधिको कच्चा पदार्थका लागि विश्वका अधिकतर मुलुक चीनमा निर्भर छन् । भारत विश्वमा तेस्रो सबभन्दा बढी औषधि उत्पादन गर्ने मुलुक हो । भारतमा बर्सेनि करिब ३९ अर्ब डलर बराबरको औषधिको कारोबार हुन्छ । अहिले हुबेईबाट कच्चा पदार्थ निर्यात हुँदैन ।
चीनमा स्थिति नसुध्रिए दुई/तीन महिनामै नेपालमा विभिन्न औषधिको उत्पादन बन्द गर्नुपर्ने वा बढी मूल्य तिरेर युरोपेली मुलुकबाट महँगो मूल्यमा कच्चा पदार्थ ल्याउनुपर्ने अवस्था आउने नेपाली औषधि उत्पादकहरू बताउँछन् । ‘हामीकहाँ स्टक रहेको कच्चा पदार्थले अब २–३ महिना मात्र धान्छ । कोरोना संक्रमणको स्थिति नसुध्रिए नेपाली औषधि उद्योग बन्द हुन्छन्,’ एपोन अध्यक्ष क्षत्रीले भने । औषधि उत्पादकका अनुसार अभाव बढ्दै जाँदा कच्चा पदार्थको मूल्यमा अत्यधिक वृद्घि भएको छ । पारासिटामोलको कच्चा पदार्थको भाउ दोब्बर भएको छ । एजिथ्रोमाइसिनलगायतका एन्टिबायोटिकको मूल्य ७० प्रतिशतसम्म बढेको छ ।
एपोनका कोषाध्यक्ष प्रभात रुंगटाका अनुसार नेपाल औषधिको ९८ प्रतिशत कच्चा पदार्थका लागि भारतमा निर्भर छ । भारतले भने करिब ८० प्रतिशत कच्चा पदार्थ चीनबाट भित्र्याउँछ । ‘घरेलु औषधिको स्टकमा कमी देखिएपछि भारतीय सरकारले अत्यावश्यक औषधिको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ,’ रुंगटाले भने, ‘हामीकहाँ पनि प्रायः सबै औषधिको कच्चा पदार्थको स्टक रित्तिँदै छ । अभावको समस्या नटरे औषधिको मूल्य बढ्न सक्छ ।’ उनले औषधि उद्योगको परनिर्भरता हटाउन सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए । औषधि उत्पादक दीपक प्रधानका अनुसार युरोपबाट कच्चा पदार्थ ल्याउनुपर्ने स्थिति आए औषधि धेरै महँगो हुन्छ ।
उत्पादकहरूका अनुसार नेपालको औषधि बजारमा भारतीय उत्पादनले करिब ५२ प्रतिशत, नेपाली उत्पादनले करिब ४५ प्रतिशत र अन्य देशको उत्पादनले ३ प्रतिशत स्थान ओगटेको छ । नेपालमा वर्षमा करिब ३० अर्ब रुपैयाँसम्मको औषधि आयात हुन्छ । यहाँको औषधि उद्योगमा करिब ४० अर्ब रुपैयाँको लगानी छ । नेपालमा करिब ८ सय प्रकारका औषधि उत्पादन हुन्छ । औषधि उद्योगबाट करिब ३० हजारले रोजगारी पाएका छन् ।

कुवेतमा नेपाली सुरक्षित ः दूतावास
कुवेतमा कोरोना भाइरस रोग (कोभिड–१९) को संक्रमण देखिएपछि त्यहाँको सरकारले उच्च सतर्कता अपनाउँदै आफ्ना नागरिक र विदेशी पर्यटक तथा कामदारलाई भीडभाडबाट जोगिन आग्रह गरेको छ । कुवतेमा बुधबार बेलुकासम्म कोरोनाबाट संक्रमितको संख्या २६ पुगेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
कुवेतस्थित नेपाली दूतावासले हालसम्म त्यहाँ कार्यरत नेपालीलाई संक्रमण भएको कुनै जानकारी नआएको जनाएको छ । कुवेतमा करिब ७० हजार नेपाली कार्यरत छन् । ‘हामीले नेपालीलाई कुनै कार्यक्रम नराख्न, भीडभाडमा नजान र सतर्कता अपनाउन भनेका छौं,’ कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले फोनमा भने ।
कुवेतमा नेपालीले यसअघि तय गरेका सामूहिक कार्यक्रम सबै स्थगित गरेका छन् । कुवेत सरकारले आफ्नो राष्ट्रिय दिवस र स्वतन्त्रता दिवसका अवसरमा आयोजित सार्वजनिक कार्यक्रमसमेत स्थगित गरेको छ । त्यहाँ राष्ट्रिय दिवस मंगलबार र स्वतन्त्रता दिवस बुधबार थियो । यस्तै, स्कुल, कलेज दुई साताका लागि बन्द गरिएका छन् ।
कुवेत अन्तर्राष्ट्रिय विमानस्थलभित्रको रेस्टुरेन्टमा कार्यरत सुपरभाइजर हरिकृष्ण न्यौपानेले त्यहाँ अहिले इरान, इराक, थाइल्यान्ड, जापान, सिंगापुर र चीनका २ क्षेत्रमा आवतजावत गर्ने विमान सेवा स्थगित गरिएको बताए । ‘हामीलाई पनि यहाँ विमास्थलमा अनिवार्य रूपमा मास्क लगाएर हिँड्न, बिनाकाम बाहिर ननिस्कन, जमघटमा नजान भनिएको छ,’ उनले भने, ‘विमानस्थलमा यात्रा गर्नेहरू पनि कमै देखिन थालेका छन् ।’ कुवेत सरकारले कोरोना संक्रमणका बेला ‘मेडिकेटेड मास्क’ को अभाव सिर्जना गर्ने र मूल्य बढाउने १९ औषधि पसल बन्द गरेको छ ।
नेपालबाट घरेलु कामदारको अवस्था अध्ययन गर्न खाडीका देश जान लागेको संसदीय टोली तत्काल कुवेत नजाने भएको छ । ‘कुवेतमा कोरोनाको संक्रमणले राष्ट्रिय दिवस पनि रद्द भएको खबर पायौं । त्यसैले भिसा आएर पनि त्यहाँ नजाने निधो गरेका हौं,’ प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भने, ‘हामी खाडीका अरू देश गएर घरेलु कामदारको अवस्था अध्ययन गर्छौं ।’
बहराइनमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि मंगलबारदेखि त्यहाँका सबै सार्वजनिक र निजी स्कुल बन्द भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । बहराइनमा संक्रमितको संख्या २३ पुगेको छ । त्यहाँ ५० हजारभन्दा बढी नेपाली कार्यरत छन् ।

समाचार

एसपी बनेपछि मात्र संघमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रदेश प्रहरीमा समायोजन भएर जाने डीएसपी र इन्स्पेक्टरले एसपीमा बढुवा नभएसम्म अन्य प्रदेश वा संघअन्तर्गतका युनिटमा सरुवा हुन नपाउने भएका छन् ।
‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५’ अनुसार नयाँ भर्ना भएका प्रहरी निरीक्षकले कम्तीमा १५ वर्ष र भर्खर बढुवा भएका डीएसपीले कम्तीमा ५ देखि ७ वर्षसम्म एउटै प्रदेशअन्तर्गर्तका जिल्लामा रहेर काम गर्नुपर्ने छ । अहिलेको अभ्यास र बढुवा पद्धतिअनुसार प्रहरी निरीक्षक भएको १० वर्षमा डीएसपी हुन सक्छन् । त्यस्तै डीएसपी भएको ५ देखि ७ वर्षसम्ममा एसपी हुन सक्छन् ।
प्रहरीमा सरुवाबढुवाको वार्षिक क्यालेन्डर प्रणाली नहुँदा पनि करिअर प्लानमा ध्यान दिइएको छैन । समायोजन ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । त्यसकै आधारमा गृह मन्त्रालयले केही दिनअघिबाट समायोजनको काम थालेको छ । प्रहरी मुख्यालयले जुनियर अधिकृत (जवानदेखि नायब निरीक्षक) सम्म मात्रै प्रदेश सरकारमातहत सरुवाबढुवा तथा वृत्ति विकासको अधिकार दिने गरी सुझाव पेस गरेको थियो । ऐनमा भने जवान र सहायक निरीक्षकसम्मको भर्ना प्रदेश सरकारअन्तर्गतको लोकसेवा आयोगले गर्ने, प्रहरी निरीक्षकको संघीय लोकसेवा आयोगले गर्ने र डीएसपीसम्म समायोजन हुने कर्मचारी एसपी नभएसम्म सम्बन्धित प्रदेशअन्तर्गतकै जिल्लामा रहेर कार्यसम्पादन गर्ने प्रावधान राखिएको छ ।
संघीय सरकारका गृहमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय, गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको समन्वय समितिले समायोजनसम्बन्धी समन्वय तथा अनुगमन गर्न सक्ने प्रावधान ऐनमा छ । डीएसपीसहित करिब ५५ हजार प्रहरी जनशक्ति प्रदेश प्रहरीमा पठाउने गरी तयारी थालिएको गृह मन्त्रालयका एक सहसचिवले बताए । प्रहरीमा हाल करिब ८० हजार जनशक्ति भए पनि ७० हजार हाराहारीमा मात्रै कार्यरत छन् । दरबन्दी भएर पदपूर्ति हुन नसकेका करिब १० हजार जनशक्ति समायोजनपछि मात्रै भर्ना गर्ने प्रहरी मुख्यालयको तयारी छ ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले फिल्डमा काम गर्दा कस्तो अवस्था आउँछ, त्यसकै आधारमा औपचारिक धारणा सम्बन्धित ठाउँमा पुर्‍याउने उनले बताए । ज्ञवालीले समायोजनका लागि विवरण संकलन थालिएको बताए । कानुनतः ऐन प्रमाणीकरण भएको ३० दिनभित्र विवरण संकलन गरिसक्नुपर्ने प्रावधान छ । संघ र प्रदेश प्रहरीमा समायोजन नभएकालाई ‘पुल दरबन्दी’ को रूपमा राख्ने ऐनमा उल्लेख छ ।

समाचार

न दुलाहा आए, न जन्ती

टीकाटालोमा चारजना साथी लिएर पुगेका केटाले आफू इन्जिनियर भएको बताएका थिए । आफ्नै घर छ भने पनि उनी कोठा भाडामा लिएर बसेका रहेछन्, नाम पनि नक्कली रहेछ ।
- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब सात सय जनाका लागि खानपानको व्यवस्था थियो । छोरीको बिहे भव्य बनाउन परिवारले कुनै कसर बाँकी राखेको थिएन । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो । काठमाडौंमा रहेका आफ्ना जिल्लावासी र चिनेजानेका सबैलाई केटीको परिवारले निम्त्याएको थियो । बिहान १० बजेदेखि आउनेजाने निम्तालुको लर्को चलिरहँदा १२ बजे आउने भनेका जन्ती आइपुगेनन् । केटी पक्ष फोन डायल गर्न थाले ।
आफूलाई इन्जिनियर बताउने वर आश्रेय बस्नेतले फोनमा आत्तिएको स्वर पारेर आफ्ना माइलो बुवा अचानक बितेकाले आउन ढिला भएको बताउँदै भने, ‘यताको तारतम्य मिलाएर जन्ती हिँड्छ ।’ सिनामंगल घर र आफूलाई डाक्टरको छोरा बताउने उनी दिन ढल्किँदा पनि जन्ती लिएर नआएपछि केटी पक्षमा हल्लीखल्ली मच्चियो । जन्ती आउने आसमा सिंगो दिन बिताएपछि केटी पक्ष सशंकित भयो । आफन्तले महानगरीय प्रहरी वृत्त बानेश्वरमा खबर गरे । वृत्तका डीएसपी दुर्गा रेग्मीसहितको टोली पार्टी प्यालेस पुगेर सबै जानकारी लियो । डीएसपी रेग्मीले भने, ‘केटी पक्षका सबैको अनुहार मलिन थियो । उनीहरूको कुरा सुनेर म पनि चकित परें ।’
१५ दिनअघि काठमाडौंकै एक भव्य होटलमा भएको टीकाटालोपछि सोमबार बिहेको मिति टुंगो गरिएको थियो । राति अबेरसम्म पनि जन्ती आएनन्, केटा पक्षका कोही आफन्त उपस्थित नभएपछि केटी पक्ष घर फर्कियो । केटीका आफन्तका अनुसार बिहेको कुरा छिन्ने टीकाटालोमा पनि बस्नेत चारजना साथीमात्रै लिएर आएका थिए । ती आफन्तका अनुसार टीकाटालोमा चार तोला सुनका विभिन्न गहना केटा पक्षलाई दिइएको थियो । केटाले आफ्नो भनेको घर पनि हेर्न गएका केटी पक्षले उनका डाक्टर पितालाई भने भेट्न पाएका थिएनन् । ‘बुवा धेरै व्यस्त हुनुहुन्छ’ भन्दै उनले हजुरआमा भनेर एक वृद्धा चिनाएका थिए । कुराकानी राम्रै भएपछि विवाह अगावै केटी पक्षले पाँच लाखजतिको फर्निचर पनि दाइजो भन्दै दिएको थियो ।
बिहेका दिन केटा बेपत्ता भएपछि केटी पक्षको ओठतालु सुकेको थियो । बिहेका लागि खर्च भएको १५ लाखभन्दा पनि इज्जतमा धक्का लागेको पीर आत्तिएका उनीहरूलाई ढाडस दिएर प्रहरी टोली निस्कियो । न केटाको फोन लाग्यो न उनी फेला परे । उनको भनिएको घरमा पुग्दा थाहा भयो, उनी त्यहाँ डेरा लिएर एउटा कोठामा बसेका रहेछन् । ‘हामी पुग्दा कोठाको ढोकामा ताला थियो,’ डीएसपी रेग्मीले भने, ‘केटी पक्षलाई हजुरआमा भनेर चिनाइएकी मान्छे पनि फेला परिनन् ।’ विवाहको निम्तो कार्डका लागि केटाले दिएको बाबु र आमाको नाम पनि फर्जी भएको खुल्यो । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेको प्रहरीले पत्तो पायो । केटाको कोठामा न नयाँ फर्निचर थिए, न त महँगा वस्तु । केटी पक्षले दिएको फोटो र विवरण प्रहरीले आफ्ना युनिटहरूमा पठायो ।
काठमाडौंबाट पठाइएको फोटोमा रहेका बस्नेतलाई बुधबार पोखरा विमानस्थलमा प्रहरीले देख्यो । रोक्यो । चेकजाँच गर्दा उनको साथबाट चार हजार अमेरिकी डलर बरामद भयो । विदेशी मुद्राको स्रोत नखुलेपछि प्रहरीले उनलाई काठमाडौंको साटो थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको बुटवल कार्यालय पठाएको छ ।
प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि हुने आधार भेटिएका छैनन् । ‘आपराधिक विश्वासघात ठगीमा मुद्दा चलाउने तयारी भइरहेको छ,’ उनले भने, ‘केटाले कुन उद्देश्यले यस्तो षड्यन्त्र गरेको रहेछ भन्ने खुल्नै बाँकी छ, तर जे भयो त्यो सामान्य बदमासी होइन ।’ डीएसपी बोगटीका अनुसार करिब १५ दिनअघि पनि विवाहको नाममा यस्तै प्रकृतिको ठगीको उजुरी प्रहरीमा आएको थियो । केटा, जन्ती, उनका आफन्त कोही नआएपछि विवाहको दिन केटी पक्ष प्रहरीमा आएका थिए । उनको अझै खोजी भइरहेको बोगटीले बताए ।

समाचार

'संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्‍याउँछौं'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाँच विषयलाई मुख्य आधार मानेर संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएका छन् । स्विट्जरल्यान्डको जेनेभामा मंगलबार संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ४३ औं सत्रलाई सम्बोधन गर्दै उनले बृहत् शान्ति सम्झौता, सर्वोच्च अदालतको आदेश, सान्दर्भिक अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडितको चासो र धरातलीय यथार्थअनुरूप संक्रमणकालीन न्यायका बाँकी मुद्दालाई किनारा लगाउने बताएका हुन् । मन्त्री ज्ञवालीले द्वन्द्वकालका मानव अधिकार उल्लंघनका घटनासँग दुइटा स्वतन्त्र आयोगहरू (सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन) मार्फत काम गरिरहेको जानकारी दिए । उनले नेपालले दोस्रो पटक २०२१ देखि २०२३ सम्म मानव अधिकार परिषद्को सदस्यताका लागि उम्मेदवारी पेस गरेको पनि जानकारी दिए ।

समाचार

१६ प्रहरी निलम्बित

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– करिब आधा किलो सुन आपसमा बाँडेर लिएको आशंकामा रसुवाको टिमुरे सीमा प्रहरी चौकीका १६ प्रहरीलाई अख्तियारले निलम्बन गरेको छ । केरुङबाट ल्याउँदै गरेको कन्टेनर जाँचका क्रममा भेटिएको ४ सय २२ ग्राम सुन आफैंले राखी चालकलाई छाडिदिएको भन्दै अख्तियारले उनीहरूलाई निलम्बन गरेको हो । 

समाचार

ट्रस्टको जग्गा भाडा प्रकरणमा संलग्न छैन : देउवा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । उनले बुधबार विज्ञप्ति जारी गरी आफू प्रधानमन्त्री रहेका बेला यससम्बन्धी कुनै निर्णय नभएको दाबी गरेका हुन् । ‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रस्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन,’ विज्ञप्तिमा छ, ‘मेरो सहभागिताबेगर भएको निर्णयमा नाम जोडेर गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।’ ट्रस्टको सञ्चालक समितिले गरेको निर्णयमा आफूलाई गाँस्नु कानुनी दृष्टिले गलत रहेको दाबी गरेका छन् ।

Page 4
वाग्मती प्रदेश

सडकको नक्सांकन फेरिँदा उठिबास

बजार क्षेत्र पर्ने भन्दै नक्सांकन बदल्न खोजेपछि मदन भण्डारी राजमार्गको रुटबारे अन्योल
- राजकुमार कार्की
सिन्धुलीको कमलामाई नगरपालिका–४ को आदर्शनगर (कुमालफाँट) । मदन भण्डारी राजमार्गको नक्सांकन परिवर्तन गरी यहीँबाट सडक बनाउन लागिएपछि स्थानीयले विरोध गरेका छन् । तस्बिर ः कानितपुर

(सिन्धुली) - कमलामाई नगरपालिका–४ कुमालफाँटका दिलीप चौलागार्इंलाई हिजोआज एउटा चिन्ताले सताएको छ । भूकम्पपछि ऋणधन गरी बनाएको चारकोठे घर राजमार्गमा पर्ने हो कि भन्ने सोचाइले उनी राम्ररी सुत्न सक्दैनन् । ‘सबै जनाले यतैबाट सडक लानुपर्छ भन्छन्, यो एक टुक्रा जमिन र घर पनि देखी नसहने भए,’ उनले गुनासो गरे । उनका अनुसार पहिला सडकको नक्सांकन अरूतिरैबाट गरिएको थियो । ‘यता किनेर घर बनाइयो, अहिले फेरि यहीँबाट हुने भयो भन्छन्,’ चौलागाईंले दुःखेसो पोखे ।
उनी मात्र होइन, भूकम्पपछि घर बनाएका इन्द्रबहादुर भण्डारीको गुनासो पनि उस्तै छ । उनी भन्छन्, ‘नेताहरू नै हामीलाई उठिबास लगाएर सुकुम्बासी बनाउन तल्लीन छन्, जताबाट नापेको उतैबाट सडक लगे हुन्छ नि । एकातिरबाट नाप्ने अनि केके भनेर अर्कातिर सार्न खोज्नु न्यायसंगत हुँदैन ।’
थोरै जमिन र बासका लागि घर ठड्याएका दर्जनौं परिवार उठिबास लाग्ने हो कि भनेर चिन्तित छन् । जनप्रतिनिधिहरूले बजार क्षेत्र पर्ने भन्दै सडकको नक्सांकन बदल्न खोजेपछि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन हेटौंडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग) को रुटबारे अन्योल भएको छ । सुरुको सर्भेमा कमलामाई नगरपालिका–६ को धुराबजार हुँदै मिलन चोक, साङवाले, खट्टार जोड्ने गरी राजमार्गको नक्सांकन तथा विस्तृत अध्यन प्रतिवेदन तयार भई ठेक्का लागेको छ ।
राजमार्ग निर्माण गर्दा धुराबजारका केही घरमा क्षति हुने भन्दै त्यस क्षेत्रबाट राजमार्ग निर्माणको रुट परिवर्तन गरी अन्यत्र लैजान जनप्रतिनिधिहरूले सडक आयोजनालाई दबाब दिँदै आएका छन् । संघीय सांसद, प्रदशेसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले रुट परिवर्तन गरी सडक निर्माण गर्न लबिइङ गरेको सडक आयोजनाले जनाएको छ । संघीय सांसद हरिबोल गजुरेलको नेतृत्वमा यस क्षेत्रका वाग्मती प्रदेशसभा सदस्य तथा कमलामाई नगरपालिकासहित धुरा क्षेत्रबाट सडक निर्माण गर्दा केही घरमा क्षति हुने भन्दै राजमार्गको नक्सा तथा रुट परिवर्तन गर्न पहल थालेका छन् । सडकको नक्सा परिवर्तनमा चासो देखाएपछि त्यस क्षेत्रका स्थानीयले खेतीयोग्य जग्गा मास्न नदिने बताउँदै आएका छन् ।
दायाँबायाँ सडक बढाउँदा पुग्ने र आफूहरूको खेतीयोग्य जग्गाबाट राजमार्ग लैजान नदिने स्थानीयको भनाइ छ । डीपीआर तयार भई सडक निर्माणको ठेक्का लागेपछि बनेका अधिकांश घर सडकको मापदण्डलाई छोडेरै बनाइएको स्थानीय सन्तोष बोहोराले बताए । धुराबजारको सिरानबाटै हाल कमलामाई नगरपालिकाको कर तथा मालपोत कर तिर्दा मदन भण्डारी राजमार्गको दायाँबायाँ उल्लेख भई सोहीअनुसार स्थानीयले करसमेत तिर्दै आएकाले हाल परिवर्तन गर्छौं भनेर लाग्नु औचित्यहीन हुने अर्का स्थानीय कृष्ण अधिकारीले बताए ।
‘धुरा बजारबाट राजमार्ग निर्माण गर्दा केही घरमा क्षति पुग्ने देखिन्छ, त्यसैले परिवर्तन गर्न पहल गरेका हौं,’ वाग्मती प्रदेश सदस्य विनोद खड्काले भने, ‘हेटौंडा–सिन्धुली–चतरा राजमार्ग निर्माण गर्दा धुरा क्षेत्रमा बढी हुन्छ, विकल्पको खोजी भएको हो ।’ प्रदेशसभा सदस्य खड्काले राजमार्ग निर्माणको विषयमा लामो समयदेखि अन्योल कायम रहेकाले त्यसको निकासको प्रक्रिया सुरु गरेको र विकल्पको रूपमा तत्कालीन हाज्माको २ नं. गेट हुँदै आदर्श टोलबाट साङवाले जोड्ने गरी पहल सुरु भएको बताए ।

वाग्मती प्रदेश

१८ विद्युतीय बस खरिद गरिँदै

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– वाग्मती प्रदेशका प्रमुख सहरलाई २०८५ सालसम्ममा पेट्रोलियम सवारीमुक्त बनाउने सरकारको योजना कार्यान्वयन प्रक्रियामा गएको छ । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा उल्लिखत पेट्रोलियम सवारीमुक्त बनाउने नीति चालु आवबाट कार्यान्वयन गर्न लागिएको हो ।
प्रदेशभित्रका काठमाडौं उपत्यकासहित चितवन, हेटौंडा, बनेपा, धुलिखेल, पनौतीलगायत सहरलाई पेट्रोलियम सवारीमुक्त बनाउन १८ वटा बस खरिद गरी सञ्चालनमा ल्याउन लागिएको हो । ६ वटा हेटौंडा–भरतपुर–काठमाडौं रुटमा र बस काठमाडौं–धुलिखेल रुटमा सञ्चालन गर्ने गरी खरिद प्रक्रियामा जान लागिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए । ‘बस खरिदका लागि यही महिनाभित्रै ठेक्का आह्वान हुन्छ । अर्को आर्थिक वर्षको सुरुदेखि नै बस सञ्चालन गर्न सक्छौं,’ उनले भने ।
प्रदेश सरकारले बस खरिदका लागि प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा दुई महिनाअघि विद्युतीय सवारीसाधन तथा सरसफाइ उपकरण खरिद सहजीकरण समिति गठन गरेको छ । समितिमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, आर्थिक मामिला मन्त्रालयका सचिव, प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख र विज्ञसमेत छन् । मेकानिकल इन्जिनियर र विज्ञसहितको एक उपसमितिसमेत बनाई अध्ययन भइरहेको समितिका सदस्य एवं भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भट्टले बताए ।
बस खरिदका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयबाट यस वर्ष आठ करोड रुपैयाँ छुट्याइएको छ भने अपुग रकम आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराउनेछ । इन्जिनियरहरूको समितिले अध्ययन पूरा गरी प्रतिवेदन दिएपछि मात्रै बसको लागत मूल्य निर्धारण हुनेछ । विद्युतीय चार्जिङ स्टेसन बनाउने तयारीसमेत भइरहेको मन्त्रालयले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न राजमार्गमा ४० वटा विद्युतीय चार्जिङ स्टेसनका लागि टेन्डर आह्वान गरिसकेको बताउँदै सचिव भट्टले अपुग स्थानमा प्रदेश आफैंले संरचना बनाउने बताए । हेटौंडा, भरतपुर, मुग्लिन र धादिङका कुनै स्थानमा स्टेसन निर्माण तयारी गरिएको छ ।
प्रदेश सरकारले संघीय सरकार, काठमाडौं र ललितपुर महानगरपालिकासँग सहकार्य गरी साझा यातायातमार्फत बस चलाउने यसअघिको प्रयास विफल भएपछि प्रदेश सरकार आफैंले बस सञ्चालन गर्न अग्रसर बनेको हो । हेटौंडाबाट भरतपुर हुँदै काठमाडौंसम्म २ सय २७ र काठमाडौंबाट धुलिखेल ३० किलोमिटर दुरी छ ।

वाग्मती प्रदेश

उच्च पहाडमा हिमपात

- कान्तिपुर संवाददाता

दोलखा (कास)– सदरमुकाम चरिकोट आसपासका उच्च पहाडी भेगमा मंगलबार रातिदेखि हिमपात भइरहेको छ । लामोसाँघु जिरी सडकको खरिढुंगा खण्डमा हिमपात भएपछि ओहोरदोहोर गर्ने यात्रुले समस्या भोगिरहेका छन् । कालिञ्चोकमा भारी हिमपात भएपछि टायरमा चेन राखिएका मोटरबाहेक अन्य सवारीसाधन रोकिएका छन् । गत वर्षभन्दा धेरैपटक र बाक्लो हिमपात भएपछि पर्यटनमा राम्रो प्रभाव परेको होटल व्यवसायी चन्द्र लामाले बताए । ३ हजार ८ सय मिटर अग्लो कालिञ्चोक र शैलुङ क्षेत्रमा पनि भारी हिमपात भएको छ । ३ हजार ३ सय मिटर अग्लो सय थुम्काहरूको शैलुङमा हिमपात भएपछि पर्यटकहरूको चहलपहल बढेको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए ।

वाग्मती प्रदेश

काठ तस्कर पक्राउ

- कान्तिपुर संवाददाता

नुवाकोट (कास)– अवैध रूपमा काठ ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–६ बाट महादेवफाँटतर्फ जाँदै गरेको बा ४ ख १७०४ नम्बरको गाडीमा उत्तिसको काठ ओसारपसार गरिरहेको अवस्थामा चालक माधव तामाङ र सवारीधनी भोजराज सिग्देल पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी राजेश थापाले बताए । बरामद १ सय २२ दशमलव १९ क्युफिट काठसहित उनीहरूलाई कारबाहीका लागि डिभिजन वन कार्यालय विदुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेश

बनेपामा औद्योगिक प्रदर्शनी

- कान्तिपुर संवाददाता

काभ्रे (कास)– फागुन २१ देखि चैत्र २ गतेसम्म बनेपामा पहिलोपटक वाग्मती प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुने भएको छ । लघु घरेलु तथा साना उद्योग विकास कोषको सहयोगमा घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले प्रदर्शनी र महोत्सव गर्न लागेको हो । १३ वटै जिल्लाका उद्यमीको व्यवसाय प्रवर्द्धन तथा प्रचारप्रसार र काभ्रेमा कोसेलीघर स्थापना गर्न प्रदर्शनी आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सुवासना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार, १ सय ६० भन्दा बढी स्टल हुनेछन् ।

वाग्मती प्रदेश

दादुरा रुबेला खोप चैतमा

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– मकवानपुरमा आगामी चैतमा दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला खोप समन्वय समिति एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा मंगलबार बसेको बैठकले चैतमा पाँचौं राष्ट्रिय दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ मन्त्रालयको राष्ट्रिय कार्यक्रमअनुसार नै मकवानपुरमा चैत १ देखि ३० गतेसम्म अभियान सञ्चालन हुने उनले जानकारी दिए । पहिलो चरणमा प्रदेश नं १, २ र ५ मा फागुन महिनाभर अभियान सञ्चालन भइरहेको छ । दोस्रो चरणमा वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । अभियानमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई जिल्लास्थित स्वास्थ्य संस्थामार्फत दुई चरणमा खोप अभियान सञ्चालन गर्ने निर्णय भएको प्रमुख खुलालले बताए ।

Page 5
उपत्यका

हैसियत हेरी साधुलाई दक्षिणा

७ खालको श्रेणी तोकी पशुपति आउने साधुलाई ३ सय ५१ देखि १ हजार ७ सय ५१ रुपैयाँसम्म दिइएको थियो
- दामोदर न्यौपाने

(काठमाडौं) - शिवरात्रिका लागि भारतका विभिन्न अखडाबाट आउने साधुमध्ये उच्च श्रेणीका साधु कम आउने गरेको पाइएको छ । गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका अनुसार यस वर्ष तीन हजार ७२ साधु शिवरात्रिमा पशुपति आएका थिए । कार्यालयकी प्रमुख उमा आचार्यका अनुसार चार सय ३७ नागाबाबा आए । साधुमध्ये नागा साधुलाई उच्च मानिन्छ । नागा साधुलाई गुठी संस्थानले सबैभन्दा बढी दक्षिणा दिएर बिदाइ गर्ने गरेको छ । नागा साधु पनि विशिष्ट र साधारण श्रेणीका हुन्छन् । गुठीले विशिष्ट नागालाई ९ सय ५१ र साधारण नागालाई ७ सय ५१ रुपैयाँ दिएर बिदाइ गरेको छ ।
नागापछि विभिन्न अखडा र मठका पुजारी, महन्तलगायत पर्छन् । तिनलाई गुठीले ‘ग’ श्रेणीमा राखेर संस्थानले दक्षिणा दिँदै आएको छ । ‘ग’ श्रेणीमा पर्ने साधु यो वर्ष ७ सय ३२ जना आएका थिए । यी साधुलाई ५ सय ५१ रुपैयाँ दिएर बिदाइ गरिएको हो । यीबाहेक अन्य साधुलाई साधारण साधुको श्रेणीमा राखिएको छ । सबैभन्दा बढी साधारण साधु आउने गरेका छन् । संस्थानले साधारण साधुलाई पनि घ, ङ, च श्रेणीमा विभाजन गरेर दक्षिणा वितरण गर्ने गरेको छ । संस्थानले घ श्रेणीकालाई ३ सय ५१, ङ श्रेणीकालाई २ सय ५१ र च श्रेणीकालाई १ सय ५१ रुपैयाँ दक्षिणा दिएको छ ।
अघिल्ला वर्ष पनि नागा साधुको संख्या अन्यभन्दा कम थियो । २०७५ सालमा विशिष्ट र साधारण गरी ५ सय १ नागा साधु आएको संस्थानले जनाएको छ । त्यो वर्ष १२ हजार ७ सय ८१ साधु आएका थिए । २०७४ सालमा विशिष्ट नागा २८ र साधारण नागा १ सय १ गरी १ सय २९ जना मात्र उच्च स्तरका साधु आएका थिए । यस वर्ष पशुपति आउने साधुलाई कम्तीमा ३ सय ५१ देखि बढीमा १ हजार ७ सय ५१ रुपैयाँसम्म दिइएको थियो । यो वर्ष साधुका श्रेणी पनि ७ वटा तोकिएको थियो । विभिन्न अखडामा बसेका साधुका विभिन्न हैसियत हुन्छन् । कोही गुरु हुन्छन्, कोही चेला । अखडा, मठ, गुफा, पाटीपौवा, आश्रम लगायतमा कोही महन्तको, कोही पुजारीको हैसियतमा बसेका हुन्छन् । कोही मठको सफाइ गर्ने हैसियतमा हुन्छन् । कोही हेरचाह गर्ने त कोहीचाहिँ टहलुवा हुन्छन् । शिवरात्रिमा आउने साधुलाई पनि यस्तै हैसियतअनुसार दक्षिणा दिएर बिदाइ गर्ने चलन रहेको गुठी संस्थानका अध्यक्ष मीननारायण चौधरीले बताए ।

संन्यासी बन्न मापदण्ड
सामान्यतया संन्यासीले तीन वटा मापदण्ड पूरा गरेका हुन्छन् । लेखक ज्योतिलाल वनका अनुसार पहिलो मापदण्ड हो, क्रम संन्यासी । यस्ता सन्यासीले ब्रह्मचार्य पूरा गरेर गृहस्थ र गृहस्थ भएर वानप्रस्थ, वानप्रस्थपछि संन्यास कर्म लिएका हुन्छन् । यस्ता सन्यासीले आश्रमको अनुष्ठान गर्दागर्दै वृद्धावस्थामा पुगेर मात्र संन्यास लिएका हुन्छन् ।
वानप्रस्थ आश्रम पूरा नभए पनि जुन दिन दृढ वैराग्य प्राप्त हुन्छ, त्यही दिन उसले गृहाश्रमबाट संन्यास भएर आश्रम गर्न सक्छ, यो दोस्रो मापदण्ड हो । दृढ वैराग्य र यथार्थ ज्ञान हुनु नै संन्यासका लागि पर्याप्त आधार भएको मानिन्छ । यदि पूर्ण अदण्डित ब्रह्मचार्य, सच्चा वैराग्य र पूर्ण ज्ञान विज्ञान प्राप्त भएको छ र अरूको उपकार गर्ने इच्छा जागेको छ भने पनि यस्ता व्यक्ति संन्यासी हुन सक्ने मापदण्ड छ ।

१६ खालका जोगी
संन्यासीका तीन वटा विभागमा १६ प्रकारका जोगी हुन्छन् । पहिलो विभागमा वैराग्य संन्यास, ज्ञान संन्यास, ज्ञान वैराग्य संन्यास र कर्म संन्यास गरी चार प्रकारका हुन्छन् । दोस्रो विभागमा कुटिचक्र, बहुदक, हंस, परंहस, तुरीयातित र अवधुत गरी ६ प्रकारका हुन्छन् । तेस्रो विभागमा विधिपरक संन्यास, निषेधपरक संन्यास, सक्रमक संन्यास, अक्रमक संन्यास, अखण्ड ब्रह्मचारी र फल्गु वैराग्य गरी ६ प्रकारका हुन्छन् । वनका अनुसार संन्यास कर्म लिनका लागि मानसिक रूपबाट तयार भएको व्यक्तिले ‘म अब संसारिक मोहजलबाट मुक्त भएर कुनै विषय वासनामा नअल्झी आफूलाई पूर्ण रुपले परमब्रह्ममा समर्पित गर्नेछु’ भनेर संकल्प गर्नुपर्छ । संन्यास लिन तयार हुने व्यक्तिले पञ्चगुरुबाट दीक्षा लिनुपर्ने वनले बताए । पञ्चगुरुमध्ये पहिलो गुरुले टुपी काट्छन्, दोस्रोले मन्त्र सुनाउँछन् । तेस्रोले विभूत लगाइदिने, चौथोले वस्त्र फेरिदिने लगौटी गुरु र भिक्षा माग्न भिक्षा पात्र प्रदान गर्ने खप्पर गुरुबाट दीक्षा लिनुपर्छ ।
कोही जोगीले चाहिँ शिखा र टुप्पी परित्याग गर्दैनन् । यस्ता जोगीलाई कुटिचक्र भनिन्छ । दण्ड, कमण्डलु, ठाडो सानो धोती, लगौटी, गम्छा धारण गरेर मातापिताको सेवा गर्दै हिंड्छन् । लेखक वनका अनुसार यी संन्यासीले गौतम, भारद्वाज, याज्ञवल्क्य, वशिष्ठ लगायतका ऋषिले जस्तै आठ ग्रासको भोजन गर्छन् । योगमार्गमार्फत मोक्ष खोजी गर्छन् । यस्ता जोगीले प्रायः गृहत्याग गर्दैनन् ।

संन्यासीका अखडा
शिक्षा र दर्शनअनुसार जोगी थरीथरीका हुन्छन् । कोही सात घरमा मात्र भिक्षा लिएर जीवन निर्वाह गर्छन् । यस्ता जोगी बहुदक सम्प्रदायका हुन् । यिनीहरू योग साधना गर्छन् र
शरीरमा भष्म दलेर बस्छन् । गाउँमा एक रात, सहरमा पाँच रात र अन्य क्षेत्रमा सात रातभन्दा बढी नबस्ने संन्यासी हंस सम्प्रदायका हुन् । यिनीहरू गोमूत्र र गोबरको सेवन गर्छन् । यस्ताले ठाडो त्रिपुण्ड लगाउँछन् । गेरुवस्त्र धारण गर्छन् ।
परमहंस संन्यासीचाहिँ राति एक छाकमात्र भोजन गर्छन् । यिनीहरू शिखा र जनै लगाउँदैनन् । पाँच घरमा मात्र भिक्षा माग्छन् । यिनीहरूले साथमा बाँसको डण्डा हुन्छ । विभूत घसेर बस्छन् । दुरीयातीत संन्यासीचाहिँ कसैसँग केही माग्दैनन्, दिए लिन्छन् । सकेसम्म फलाहार गर्छन् । खानैपर्‍यो भने तीन घरमा मात्र भिक्षा मागेर खान्छन् । यिनीहरू नांगै रहन्छन् । ‘यिनीहरूले आफ्नो इन्द्रियलाई मृत समान निष्कृय पारेका हुन्छन्,’ मृगस्थली गोरखनाथ अखडाका योगी व्यग्रवेदनाथ भन्छन्, ‘यिनीहरूले आफ्नो लिंगमा समेत ताल्चा ठोकेका हुन्छन् । यस्ता साधु उच्च साधु हुन् । शिवका सेना हुन् ।’
भारतमा विभिन्न सात वटा ठूला अखडा छन्, संन्यासीका । प्रत्येक अखडाका बेग्लै स्वतन्त्र संगठन पनि हुन्छन् । जोगीका शस्त्रविद्या यिनै अखडामा सिकाइन्छ । विक्रमको सातौंदेखि बाह्रौं शताब्दीसम्म बनेका यी संन्यासीका अखडामा पञ्चदशनामी जुना अखडा, तपोनिधी श्री निरञ्जनी अखडा, श्रीपञ्चायती महनिर्माणी अखडा, पञ्चायती अटल अखडा, श्रीपञ्चायती आनन्द अखडा, श्रीपञ्चायती आह्वान अखडा, श्रीपञ्चाअग्नि अखडा छन् । यी भारतका प्राचीन अखडा हुन् । यी अखडा महन्तले सञ्चालन गर्छन् । कतिपय अखडामा चुनावी प्रक्रियाबाट समेत महन्त छनोट गरिन्छ । पशुपतिनाथललाई आफ्नो कुलदेवता मानेर भारतका सबै अखडाबाट साधुहरू आउने गर्छन् । पहिला साधुलाई शिवरात्रिका बेलामा मात्र आउने पाउने व्यवस्था थियो । अहिले भने जुनसुकै समयमा पनि आउन सक्ने सुविधा छ ।

उपत्यका

पोखरी मासेर पानी ट्यांकी

- प्रशान्त माली
विश्व सम्पदाका लागि प्रस्तावित खोकनामा पानी ट्यांकी बनाउन माटो परीक्षण गरिँदै । तस्बिर ः कान्तिपुर

(ललितपुर) - पुरातत्त्व विभागले विश्व सम्पदा सूचीमा राख्न सुझाव दिएको खोकनास्थित ‘फुंगा’ पोखरीमा ललितपुर महानगरपालिकाले खानेपानी ट्यांकी बनाउने भएको छ । ट्यांकी निर्माण गर्न पोखरीको माटो परीक्षणका लागि पठाइएको छ । लिच्छवीकालीन पोखरीमा ट्यांकी बनाउन थालेको थाहा पाएपछि स्थानीयवासीले आपत्ति जनाएका छन् । ‘यो पुरातात्त्विक महत्त्वको पोखरी हो,’ स्थानीय सिद्धि डंगोलले भने, ‘पोखरी मास्न पाइन्न । ट्यांकी बनाउन अन्यत्र ठाउँ खोज्नुपर्छ ।’
यो पोखरीलाई स्थानीय भाषामा ‘थट् फुंगा’ भनिन्छ । खोकनामा सात वटा पोखरी छन् । कुनै खानेपानीका लागि खनिएका छन् भने कुनै कपडा धुन, नुहाउन र भाँडाकुँडा माझ्न । ‘फुंगा’ भने गाईबस्तुलाई पानी खुवाउन, भैंसी नुहाउन र बाछो जन्मेमा पूजाआजा गर्न देवता स्थापना गरिएको पोखरी हो । ललितपुर महानगर–२१ का अध्यक्ष रवीन्द्र महर्जनले ट्यांकी निर्माण गर्न अन्यत्र ठाउँ नभएकाले बाध्यताले पोखरीमा बनाउनुपरेको दाबी गरे । ‘यो पोखरी बस्तीभन्दा माथि भएकाले मासे फरक पर्दैन,’ उनले भने, ‘खोकनामा पानीको हाहाकार भएकाले पोखरीमै ट्यांकी बनाउनुपर्‍यो ।’
ट्यांकी बनाउन ललितपुर महानगरबाट २० लाख र वडा कार्यालयबाट १८ लाख गरेर ३८ लाख बजेट छुट्याइएको छ । यसको निर्माणको जिम्मा स्थानीय तहमा बनेको उपभोक्ता समितिले लिएको छ । समितिले पोखरीमा अन्डरग्राउन्ड र हाइटमा गरेर दुइटा ट्यांकी बनाउनेछ । यसका लागि उपभोक्ता समितिले महानगरबाट १० लाख ८० हजार रुपैयाँ पेस्की लिइसकेको छ । बस्तीका यस्ता पोखरीको रेखदेख खोकनाको रूद्रायणी गुठीले गर्दै आएको छ । पछिल्लो समय यो गुठीले पोखरीको संरक्षण गर्न छाडेको स्थानीयवासीले गुनासो गरे । केही वर्षअघिसम्म यो पोखरीमा नुहाउने, लुगा धुने गरिन्थ्यो । घर–घरमा धारा आएपछि पोखरीको महत्त्व घट्दै गयो । पछिल्लो समय घरमा धारा भए पनि पानी आउन छोड्यो । अहिले पोखरीको महत्त्व बढिरहेको बेला ट्यांकी निर्माण गर्न लागेको प्रति गुठीले समेत आपत्ति जनाएको छ । ‘पोखरीमा ट्यांकी निर्माण गर्नेबारे हल्ला सुनेको थिएँ । तर, गुठीलाई आधिकारिक जानकारी छैन,’ रूद्रायणी गुठीका नाइके बेखनर महर्जनले भने, ‘कुनै पनि हालतमा पोखरीमाथि ट्यांकी निर्माण गर्न दिँदैनौं ।’
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले भैंसेपाटीको ट्यांकीबाट खोकनाका एक हजार ६ सय ६२ घरधुरीलाई पानी वितरण गर्दै आइरहेको छ । स्थानीय ६० वर्षीय श्रीराम महर्जनका अनुसार पुरानो पाइप कुचिएर पानी बाहिर खेर जाने गरेको छ । ‘नयाँ ट्यांकी बनाउनुको सट्टा पाइप फेरेर खानेपानी समस्या समाधान गर्न सकिन्छ,’ उनले भने ।
खोकनाको लागि दीर्घकालीन खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष सिद्धिराम डंगोलले सामाजिक काम गर्न लागेकाले पोखरीमा संरचना बनाउनु ठिक भएको बताए । ‘कुनै व्यापारिक कम्प्लेक्स बनाउन लागेको होइन,’ उनले भने, ‘पोखरीको सबै भाग नभई एक चौथाइमात्र पर्ने हो ।’ पोखरीमा अन्य संरचना बनाउन लागेकोमा टोलवासीसमेत खुसी छैनन् । ‘स्थानीय तहमा जनप्रतिनिधि आएको साढे दुई वर्ष बितिसक्यो । आफूलाई जिताए सफा हराभरा सम्पदा बस्ती बनाउने प्रतिबद्धता जनाएका जनप्रतिनिधिले अहिले पोखरी मासेर ट्यांकी बनाउन लागेका छन्,’ पोखरीसँगैको घर भएका हरि महर्जनले भने, ‘पोखरीमा पानी सुक्दै गएपछि इनारमा समेत पानी आउन छाड्यो ।’ पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले पोखरी भएको ठाउँमा ट्यांकी बनाउनु गलत भएको बताए । ‘निरीक्षणमा टोली पठाउँछौं । त्यसपछि आवश्यक कारबाही गर्न थप प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने ।

उपत्यका

विश्व सम्पदामा अझै परेन

- कान्तिपुर संवाददाता

ललितपुर (कास)– खोकनालाई विश्व सम्पदामा सूचीकृत गर्न पुरातत्त्व विभागले आधारसहितको अध्ययन प्रतिवेदन तयार गरेको २२ वर्ष भइसक्दा पनि सूचीमा परेको छैन । विभागले २०५४ सालमा मल्लकालीन बस्ती र तेल मिललाई प्रमुख आधार बनाएर प्रतिवेदन तयार गरेको थियो । तर, अझै पनि सूचीकृत नहुँदा खोकनावासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । विभागले भने स्थानीयवासीले बिग्रेका घर परम्परागत शैलीमा निर्माण नगर्दा ढिलाइ भएको हुन सक्ने प्रतिक्रिया दिएको छ ।
‘स्थानीयले चासो लिएर बिग्रेका केही घरलाई परम्परागत ढाँचा ढाल्नुपर्छ, खोकना सम्पदामा सूचीकृत हुने सम्भावना छ,’ पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने । चारैतिर हरियाली फाँटका बीचमा रहेको खोकना मल्लकालीन नेवार बस्ती हो । झिंगटीले छाएको माटाका घरहरूको एकरूपता र एक–आपसमा जोडिएर सरल रेखामा रहेको बस्ती अहिले पनि उस्तै रहेको स्थानीय बासिन्दा बताउँछन् । यहाँका बासिन्दाको रहनसहन, परम्परा र रीतिरिवाज १५औं शताब्दीको एउटा जीवित संग्रहालय हो । खोकनामा नेपालको पहिलो फर्पिङ जलविद्युत् आयोजनाबाट ल्याइएको लाइनबाट पहिलोपल्ट बत्ती बालेको घरसमेत छ । बस्तीको चारैतिर बाटो, ठाउँठाउँमा चोक, मन्दिर, पाटीपौवा, ढुंगेधारा, इनार र बीचमा तीनतले रूद्रायणी मन्दिर छ । खोकना तोरीको तेलका लागि प्रख्यात मानिन्छ । अहिले पनि यहाँ पुरानै शैलीमा कोलबाट तेल निकालिन्छ । खोकनाका सिद्धि डंगोलले भूकम्पपछि पुनर्निर्माण गर्नेले मौलिक शैलीमा निर्माण गर्नुपर्ने बताए ।

उपत्यका

बन्धक बनाएर बलात्कार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घलेमाथि बलात्कार आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ । एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा ५२ वर्षीय घले पक्राउ परेका थिए । उनले १७ वर्षीया किशोरीलाई चार दिन बन्धक बनाएर बलात्कार गरेको आरोप छ ।
घलेले किशोरीलाई माघ २७ देखि फागुन १ गतेसम्म टोखास्थित एक घरको फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । उनलाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीअन्तर्गत जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए । प्रहरीका अनुसार सिन्धुलीकी ती किशोरी घरबाट काठमाडौं आउने क्रममा काभ्रेको बनेपामा बस पर्खिरहेकी थिइन् । काठमाडौंबाट बनेपा पुगेका घलेले सडक किनारमा बस कुरिरहेकी किशोरीलाई मोटरसाइकलमा लिफ्ट दिए । गन्तव्यमा पुग्न नदिई घलेले चार दिनसम्म बन्धक बनाए । टोखास्थित एक घरमा फ्ल्याट भाडामा लिएर एक्लै बस्दै आएका घलेका परिवार अमेरिकामा रहेको प्रहरीले जनाएको छ ।
बोगटीका अनुसार घलेले १२ कक्षामा अध्ययनरत ती किशोरीलाई अमेरिका पठाइदिने प्रलोभनमा यसअघि पनि पटकपटक बलात्कार गरेको खुलेको छ । किशोरीले फागुन १ गते आफन्तलाई घटनाबारे खबर गरेपछि घले पक्राउ परेका हुन् । ‘किशोरीले आफूलाई घलेले फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको उजुरी दिइसकेकी छन्,’ बोगटीले भने, ‘उनको स्वास्थ्य जाँचसहितको प्रक्रिया पूरा गरिसकेका छौं ।’

उपत्यका

ट्राफिक प्रहरीलाई एउटै मेस

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ट्राफिक प्रहरीमा सबै तहको एउटै भान्सा हुने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले बुधबार भान्छाघर भवनको शिलान्यास गरे । उक्त भवन प्रहरी प्रधान कार्यालयको १२ लाख ७३ हजार ८ सय ८६ रूपैयाँको लागतमा बन्ने महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

उपत्यका

तीन जनाको हेमोडायलसिस

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– वीरेन्द्र सैनिक अस्पताल छाउनीमा काठमाडौं महानगरपालिकाका तीन जना मिर्गौला रोगीको हेमोडायलसिस गरिएको छ । महानगरपालिका र सैनिक अस्पतालसँग भएको सम्झौताअनुरूप अस्पतालले सेवा दिएको हो । मेयर विद्यासुन्दर शाक्यले जंगी अड्डाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर केसीलाई मंगलबार पहिलो चरणअन्तर्गत एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएका छन् । 

Page 6
सम्पादकीय

दिल्ली दंगाको दुस्वप्न

भारतको राजधानी नयाँदिल्ली पछिल्ला तीन दिनमा दुइटा भिन्न घटनाहरूको साक्षी बन्यो । पहिलो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो भारत भ्रमण । अमेरिका र भारतबीच बढ्दो निकटताका कारण पनि दिल्लीले ट्रम्पको भ्रमणलाई विशेष महत्त्व दिएको थियो । अहमदावादको मोरेटा रंगशालादेखि आगराको ताजमहल र राजधानी दिल्लीसम्म गरिएको झकिझकाउपूर्ण सजावट र स्वागतले पनि ट्रम्पको भ्रमणलाई नरेन्द्र मोदी नेतृत्वको सरकारले दिएको महत्त्व दर्शाउँथ्यो । ट्रम्पको भ्रमणलाई यति धेरै महत्त्व दिनुका पछाडि भारतले आफू दक्षिण एसियामा अमेरिकाको भरपर्दो र विश्वासिलो साझेदार भएको हुँदा अबको विश्व व्यवस्थामा आफ्नो भूमिकालाई त्यत्तिकै महत्त्व दिनुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्य थियो । उता चुनावी वर्ष भएकाले अमेरिकामा रहेका करिब ४५ लाख भारतीय मूलका नागरिकहरूलाई रिझाउन ट्रम्प पनि आफूलाई मोदी र भारतको खास मित्रका रूपमा प्रस्तुत गर्न चाहन्थे । यसैका कारण पनि मोदी र ट्रम्प दुवैले भ्रमणलाई सुरुदेखि नै विशेष महत्त्व दिएका थिए ।
तर, यही अवधिमा दिल्ली एउटा दुःखद घटनाको साक्षीसमेत बन्यो । उत्तरपूर्वी दिल्लीमा गत आइतबारदेखि भड्किएको हिंसामा कम्तीमा २१ जनाको ज्यान गइसकेको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् । धनमाल क्षतिको त कुनै हिसाब नै छैन । पसल, घरदेखि धार्मिक आस्थाका केन्द्रहरूमा समेत आगजानी गरिएका छन् । पसलहरू लुटिएका छन् । धार्मिक आस्थाका आधारमा सर्वसाधारणमाथि सांघातिक हमलाहरू भएका छन् । भयले घरभित्रै बसेका वृद्ध, महिला र बालबालिकामाथि आक्रमण भएको छ । मानौं, दिल्लीमा दंगाको दौर चलिरहेको छ । गत सोमबार र मंगलबार त पूरै रणभूमिमै परिणत भएको थियो त्यो क्षेत्र । सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा सम्प्रेषित तस्बिरहरूबाटै अवस्था कति भयावह छ भन्ने प्रस्ट हुन्छ । केहीले त पछिल्लो दंगालाई सन् १९८४ मा भड्किएको सिख समुदायविरुद्धको हिंसा र केहीले सन् १९९२ मा बाबरी मस्जिदको घटनापछि भारतभरि भड्किएको साम्प्रदायिक दंगाको झल्कोसमेत मानेका छन् ।
यो घटनाले भारतीय लोकतन्त्र र शासन व्यवस्थालाई लिएर केही गम्भीर प्रश्नहरू खडा गरेको छ । विश्वशक्ति बन्ने आकांक्षाका साथ अघि बढेको मुलुकको राजधानीभित्रै यस किसिमका साम्प्रदायिक हिंसा भड्किनु सामान्य संकेत होइन । दुई दिनसम्म आगजनी र सांघातिक हमलाका शृंखला चल्दासमेत पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएन । हजारौंको भीडमा १०–१५ जना प्रहरीमात्र परिचालन गरिए । केही घटनामा त सुरक्षाकर्मी आफैं पनि तोडफोडमा संलग्न भएका तस्बिर बाहिर आएका छन् । यसलाई राज्यसंरक्षित दंगाका रूपमा समेत चित्रण गरिएको छ, जुन सत्य हो भने त्यसले भारतमा लोकतन्त्रको अपहरण कसरी भइरहेको छ भन्ने स्पष्ट चित्र दिन्छ ।
दिल्लीमा बुधबार साँझबाट मात्र अर्धसैन्य बल परिचालन गरिएका कारण त्यतिन्जेलमा अकल्पनीय क्षति भइसकेको थियो, जसले विश्वकै सबभन्दा ठूलो लोकतन्त्र भनिने मुलुकको सुरक्षा प्रबन्धमाथि प्रश्नचिह्न खडा गरेको छ । सुरक्षा निकाय परिचालनमा देखाइएको सुस्तता र लापरबाहीले भारतको शासन व्यवस्थाभित्रका कमजोरीहरू पनि उजागर गरेको छ । दिल्लीको उत्तरपूर्वी क्षेत्रमा शनिबारदेखि नै हालै ल्याइएको विवादास्पद नागरिकता ऐनको पक्ष र विपक्षमा रहेका समूहहरूबीच तनाव बढ्दै गएको थियो । त्यसले कुनै पनि बेला हिंसात्मक रूप लिन सक्ने पर्याप्त संकेतहरू देखिइसकेका थिए । तर, सम्भावित हिंसा र झडपलाई रोक्न न राजनीतिक नेतृत्वले गम्भीरता देखायो, न त स्थानीय प्रशासनले । त्यसबीच केही राजनीतिककर्मीहरू शान्ति–व्यवस्था कायम गराउनमा भन्दा उल्टो सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्ति दिन उद्यत देखिए । आखिर तिनै चर्का अभिव्यक्ति नाराबाजी र प्रदर्शनमा सीमित रहेका मानिसलाई हिंसात्मक प्रदर्शनमा उतार्ने मुख्य कारक बन्यो । तर, प्रशासनले ती व्यक्तिहरूलाई पक्राउसमेत गरेन । यसबाट पछिल्ला हिंसात्मक घटनाहरू निहित राजनीतिक उद्देश्यबाट प्रेरित त थिएनन् भन्ने आशंकालाई बल पुगेको देखिन्छ ।
भारतीय राजनीतिज्ञ तथा शासकहरूले राजधानीमा भएको पछिल्लो घटनाले विश्वसामु भारतीय लोकतन्त्रको कस्तो तस्बिर चित्रित गर्नेछ भन्नेमा आत्मसमीक्षा गर्नुपर्ने देखिन्छ । भाइचारा, सामाजिक तथा साम्प्रदायिक सद्भाव र शान्ति कुनै पनि सभ्य तथा लोकतान्त्रिक समाजका आधारभूत अवयव हुन् । तर, दिल्लीको घटनाले यिनै अवयवमाथि प्रहार गरेको छ । र, यसको प्रत्यक्ष असर भारतको सामाजिक संरचना र अन्तर्राष्ट्रिय छविमाथिसमेत पर्ने निश्चित छ । पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफूलाई उदाउँदो शक्तिका रूपमा उभ्याउन प्रयत्नरत् भारतका निम्ति त यसले अझ बढी महत्त्व राख्छ । किनभने बलियो अर्थतन्त्र र सामाजिक सद्भावबिना भारतको अन्तर्राष्ट्रिय हैसियत स्विकार्य बन्दैन । सामाजिक तथा साम्प्रदायिक सद्भावमाथि बारम्बार प्रहार हुँदा न त देशको अर्थतन्त्रले गति लिन्छ, न त वैदेशिक लगानी नै आकर्षित हुन्छ । त्यसैले भारतको वर्तमान नेतृत्वले यस्ता घटनालाई एउटा नराम्रो दुस्वप्नका रूपमा लिँदै भविष्यमा दोहोरिन नदिन गम्भीर समीक्षा गर्नुपर्ने खाँचो छ ।

सम्पादकलाई चिठी

प्रेस सल्लाहकारको व्यवहार

- कान्तिपुर संवाददाता

बिनु सुवेदी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको कार्यकक्षमा जाँदा थापाद्वारा गरिएको व्यवहारले प्रधानमन्त्रीको व्यवहार ठ्याक्कै मिलेको देखियो । समर्थनमा समाचार नलेखेकै कारण आम मिडियाकर्मीमाथि राजनीतिक पदाधिकारी रुष्ट हुन्छन् । पत्रकारिता पेशाबाट एकैपटक मन्त्री बनेका गोकुल बाँस्कोटा, प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रेस सल्लाहकार सूर्य थापाको बोली उस्तै छ । यस्तो बोलीले नै सरकारको ओझ घटाएको हो । फलेको वृक्ष सधैं निहुरिएको हुन्छ । अझ जनताका मत पाएका नेता त फलेको वृक्षभन्दा पनि बेसी निहुरिनुपर्ने हो । पत्रकारप्रति जुन व्यवहार थापाले देखाउनुभयो, त्यो सत्ता उन्मादको एउटा बाछिटामात्र हो । अति नै गरेपछि त चौतर्फी निन्दा भइहाल्छ नि ।
यस्ता प्रेस सल्लाहकारले दिने सल्लाह कस्तो होला भन्ने अनुमान गर्न कठिन छैन । आलोचनाले सरकारलाई मार्गनिर्देश गर्छ भन्ने ख्याल नभएका प्रेस सल्लाहकार थापा र अन्य राजनीतिक सल्लाहकार गलत भएकै कारण सरकार विभिन्न काण्डमा फँसेको हो ।
– हेमन्त न्यौपाने, मध्यबिन्दु–११, नवलपरासी

सम्पादकलाई चिठी

यौनिक लैंगिक पहिचानको सवाल

मङ्गलबार प्रकाशित ‘पाठ्य–पुस्तकमा यौनिक तथा लैंगिक अल्पसंख्यक’मा यौनिकता र लैंगिक अवस्था बारेको विश्लेषण पढ्न पाइयो । महिला महिलाप्रति वा पुरुष पुरुषप्रति आकर्षण हुनथाल्यो भने अब विस्तारै समाजले उसलाई सामाजिक अन्तरघुलनबाट बेवास्ता गर्दै लैजाने कुरामा हामी सबैजना अनविज्ञ छैनौं ।
समाजले छोरीलाई रुन सिकायो, लजाउन सिकायो, एक्लै नहिँड्न सिकायो, छोरासँग मुखमुखै नलाग्न सिकायो, ठूलो स्वरमा नहाँस्न सिकायो, जसले गर्दा पितृसत्तात्मक शासनलाई थप बल पुग्यो र ‘एलजीबीटी’हरूको अस्तित्वमा प्रश्न उठाउन समाज तम्सियो ।
छोराहरूलाई नरुन भनियो, नलजाउन भनियो, छोरीको शरीर तिम्रो अधिकार हो भनियो र उनीहरूलाई निडर र साहसिलो हैसियतमा समाजमा रहन सधैं प्रेरित गरियो । यसले गर्दा पितृसत्ताको आधारमा रहेर हिंस्रक व्यवहारमा छोराहरू हुर्किए ।
विद्यालयमा फरक समुदाय, परिवेश, संस्कार र प्रवृत्तिका बालबालिकाको अन्तरघुलन हुन्छ । तर त्यही समाजमा कुनै छोरीले छोराको व्यवहार देखाउन थाले आम मानिसको आँखा त्यता तर्सिहाल्छ । यदि छोराले छोरीको व्यवहार देखाउन थालेमा उनलाई छक्काजस्ता विविध शब्दले प्रहार गर्न थालिन्छ । यसले बालबालिकाको आफ्नो पहिचानप्रति नै अलमल हुने अवस्था सिर्जना हुन्छ ।
छोरा नपाएको कारणले नै आज कैयौं महिला हिंसा र यातनाको सिकार भोग्न विवश छन् । पढेलेखेका शिक्षित वर्गका व्यक्तिहरूबाट नै यस प्रकारका हिंसा हुने उदाहरण समाजमा धेरै भेटिन्छन् । अझ यौनिक अल्पसंख्यकहरूलाई भगवानको दोष अथवा पाप गरेको हुनाले भगवानले सजाय दिएर यस्तो जन्मियो भन्ने समाज हो यो । त्यसैले विद्यालय शिक्षाको पाठ्यक्रमले अब यौनिक अल्पसंख्यकको बारेमा पढाउनुपर्छ । नत्र भोलिको पुस्ता पनि यस्तै अन्योलतामा रुमलिने छ ।
– जानुका विक, चौदन्डीगढी, उदयपुर

सम्पादकलाई चिठी

किताबमा कर लगाएर समृद्धि आउँछ ?

सरकारको कुनै पनि आयातित किताबमाथि १० प्रतिशत कर लगाउने नियमबारे तपाईं अवगत नै हुनुहुन्छ । यो कदम आम जनताको ज्ञानमाथि अंकुश लाउने प्रयास हो । लोकतान्त्रिक व्यवस्थाका लागि लामो समय संघर्ष गरेका हामी सरकारको यस कदमले दुःखित छौं । किताबमा कर लगाउने सरकारी नीतिले लोकतान्त्रिक व्यवस्थाको उपहास गरेको छ ।
संविधानको धारा–३१ को मर्मविरुद्ध छ, कर लगाउने प्रावधान । राज्यले आयस्रोत बढाउनुपर्छ, तर किताबमा कर थोपरेर होइन । कर केमा लगाउने र नलगाउने भन्ने भिन्नता छुट्याउन सरकार किन सक्दैन ?
सम्पादकज्यू, किताबमाथि कर लगाएर धेरै राजस्व उठाउन सकिँदैन भन्ने तर्कलाई तथ्यसहित पत्रिकामा प्रस्तुत गर्दिनुस् । किताबमा कर लगाएपछि कति कमाइ र कति घाटा हुँदोरहेछ, देखाइदिनुस् । राष्ट्र बैंकको तथ्यांक अनुसार ३ वर्षअघि करिब २ अर्बको किताब आयात हुन्थ्यो । गतवर्ष १ अर्ब ७४ करोडको किताब र म्यागजिन आयात भयो । गत ६ महिनामा ४१ करोडको मात्र किताब आयात भएको छ । यसरी राजस्व बढाएर किताब कम आउँदा सरकारलाई के फाइदा भयो ?
यसरी क्रमशः बजार र आमविद्यार्थीका घरमा किताबको अभाव हुने देखिएको छ । किताब नै पढ्न नदिएपछि सरकारलाई त फाइदै–फाइदा हुने भयो नि । विश्वविद्यालयमा पढाइ हुने सबै विषयका पाठ्यक्रममा धेरै किताब विदेशी लेखकका हुन्छन् । उसै त महंँगा यी किताब १० प्रतिशत भन्सार कर थप्दा किताबको मूल्य लगभग ३० प्रतिशतजस्तो बढ्छ भन्छन् पुस्तक बिक्रेताहरू । सामान्य श्रमजीवी परिवारबाट आएको विद्यार्थीले यति चर्को मूल्य तिरेर किताब खरिद गर्न सम्भव हुन्न । कर यसरी नै लगाइराख्ने हो भने शिक्षा/ज्ञान केही सीमित मानिसकोमा मात्र पुग्छ । शिक्षा सबैको अधिकार हो भन्ने संविधान लेख्यौं । अहिले यसको ठिक विपरीत काम भइरहेको छ । हामीजस्ता सामान्य श्रमजीवी परिवारबाट आएको विद्यार्थीलाई पढ्नबाट निरुत्साहित किन गरिँदैछ ?
सम्पादकज्यू, किताबमाथि कर लगाएर कस्तो खालको समृद्धि खोजिरहेछ सरकार ? विद्यार्थी, आम पाठक र समग्र श्रमजीवी जनतालाई मारमा पारेर ल्याउने समृद्धि हामीलाई चाहिन्न ।
– हिमांशु घिमिरे, कौशलटार, भक्तपुर

पहिले लेख्न नदिने, त्यसपछि बोल्न नदिने अनि अहिले आएर पढ्न पनि नदिने ? सरकारले यही आर्थिक वर्षदेखि आयातित किताबमाथि १०.५ प्रतिशत भन्सार कर लगाएको छ । यसमा यातायात खर्च जोड्दा र बिक्रेताले उपभोक्तासम्म पुर्‍याउँदा किताबको मूल्य निकै प्रतिशतले बढ्न जान्छ । १९८७ सालतिर लक्ष्मीप्रसाद देवकोटा लगायत धेरै जनाले लाइब्रेरी खोल्ने प्रयास गर्दा राणा प्रधानमन्त्री भीमशमशेरलाई सूचना मिल्यो । र, लाइब्रेरी खोल्नेहरूलाई दण्ड–सजाय दिइयो । त्यसबेलाको र अहिलेको समाजमा धेरै परिवर्तन भइसक्यो, तर शासकको धारणा उस्तै छ ।
यस आर्थिक वर्षको पहिलो ४ महिना ११ लाख ४९ हजार ७ सय ४७ किताबबाट १ करोड ४५ लाख ४३ हजार राजस्वमात्र उठ्यो । यसले हाम्रो अर्थतन्त्र कति नै बढायो होला र ? बरु किताबमा कर लगाएपछि पछिल्लो ६ महिनामा किताब आयात ३४ प्रतिशतले घटेको छ । प्लास्टिकमा कर छैन, पुस्तकमा कर किन ?
युनेस्कोको ‘लोरेन्स एग्रिमेन्ट’ले कुनै पनि पाठ्य पुस्तकमा भन्सार कर लाउनु हुँदैन भन्छ । उक्त सन्धिलाई ‘युनेस्को’को सदस्य राष्ट्र हुँदा पनि नेपालले हस्ताक्षर गरेको छैन । सरकारले नेपाली प्रकाशकलाई प्रोत्साहन गर्न कागज, मेसिन तथा अन्य आवश्यक प्रिन्टिङ सामग्री सुपथ मूल्यमा उपलब्ध गराउनुपर्छ । यसरी किताबमाथि कर लाग्नु हुँदैन । सरकारलाई एउटै प्रश्न—यसरी किताबमा कर लगाउँदा नेपाल समृद्ध होला ?
अनि नेपाली सुखी होलान् ?
– विनोद देउवा, काठमाडौं

िसिंहदरबारको स्पष्ट योजना अभावका कारण शिक्षाको हालत दयनीय अवस्थामा छ । किताबमा कर लगाउने सरकारको नीतिले शिक्षामा सबैको पहुँचलाई अवरोध गरेको छ । र, हामी सबै विद्यार्थीको भविष्य अन्धकारतर्फ गइरहेको छ । शिक्षामा काँचुली फेर्न सस्तो र सहज किसिमले किताब पाइनुपर्छ । अझ यसमा त सरकारले नै लगानी गर्नुपर्ने हो । उल्टो किताबमा कर बढाएर अनावश्यक भ्युटावर बनाउन पैसा खर्च गरेको देख्दा सह्रै नमज्जा लाग्छ ।
समृद्धि भ्युटावर बनाएर आउँदैन भन्ने हामी साधारण विद्यार्थीले पनि बुझ्छौं । सरकारले किन बुझ्दैन ? अब किताब अहिले भन्दा निकै महँगोमा किन्नु पर्ने भएको छ । विद्यार्थीहरू अब बढी मारमा पर्नेछन् । यसैको विरोध सामाजिक सञ्जालदेखि सार्वजनिक थलोमा भइरहेको छ । हामीले पोखरामा पनि किताबमा लगाएको करको विरोध गरिरहेका छौं । विद्यार्थी र पाठकका यस्तो विरोधलाई सरकारले देखिरहेको छ कि छैन ? सरकारले यस्तो विरोधलाई बेवास्ता गर्नु जायज हुँदैन । राजस्व बढाउन सरकारले अरु जुत्ति निकाले हुने नि ।
– हेमन्त पहारी, पोखरा

किताब ज्ञानमात्र होइन, वस्तु पनि हो । व्यापार प्रयोजनार्थ आयात गरिएपछि स्वाभाविक रूपमा कर लाग्छ । अर्थमन्त्रीको तर्क यही हो । तर दक्षिण एसियाकै सबैभन्दा बढी कर नेपालमा छ । किताबमा कर लगाउने निर्णय लिनुको पछाडि सरकारको उद्देश्य के होला ? झन् किताबलाई सहज बनाएर जनतालाई ज्ञान उन्मुख बनाउने काम सरकारको हुनुपर्ने हो । फुर्सदमा पढ्ने हाम्रो बानी कम छ । हामी प्रायः विद्यालय र विश्वविद्यालयका किताबहरू मात्र पढ्छौं ।
पाठ्यक्रमभन्दा बाहिरका किताब पढ्ने पाठकहरू कम भइरहेको यस समयमा सरकारले कर लगाएको छ । थोरै पढ्ने मानिसले तिरेको
पैसाले सरकार धनी हुने पनि होइन । सरकारले सार्वजनिक पुस्तकालयहरू खोल्नुपर्ने हो । स्थानीय तहको प्रत्येक वडामा एउटा सार्वजनिक पुस्तकालयको व्यवस्था गरेर आफैले किताब किन्ने जिम्मा सरकारले लिनुपर्ने हो । तर अहिले सरकारले ठ्याक्कै उल्टो काम गरिरहेको छ ।
हाम्रो वास्तविकता पनि यही हो अनि बौद्धिक दरिद्रता पनि ।
– सञ्जय न्यौपाने, काठमाडौं

दृष्टिकोण

ओलीतन्त्रको प्रतिगमन उत्सव

- युग पाठक

मिडियाले ‘उनी’ लेखेको उनलाई मन पर्दैन । फगत चाकरी, चाप्लुसी र हनुमानचालिसा मन पर्छ । पराक्रमको भाषण फ्लप भयो, त्यसैले नैतिकताको भाषण मन पर्छ । ‘लुट्न सके लुट्’ बोलको गीत अश्लील लाग्छ, तर आफ्नै किचेन क्याबिनेटको ‘लुट’ बिलकुल श्लील । गणतन्त्र मन पर्दैन, त्यसैले राजसी ठाँट मन पर्छ । आफू उड्दा अरू जहाज उडेको मन पर्दैन, मन पर्छ त आदेशद्वारा खाली गरिएको आकाश । भ्रष्टतन्त्रको आलोचना मन पर्दैन, तर यति समूहको हेलिकप्टरले ढुवानी गरेको बर्थडे केक मन पर्छ । गरिब जनता मन पर्दैन, तर गरिब गाउँमा राजसी उत्सव मनाउन मन पर्छ । ‘उनी’ हाम्रा प्रधानमन्त्री हुन्, जसलाई लोकतन्त्र मन पर्दैन, तर ओलीतन्त्र खुब मन पर्छ ।
यो प्राक्कथन होइन, ओलीतन्त्रको अन्तिम अध्याय हो । ओलीतन्त्र यतिखेर प्रतिगमनको चरमोत्सव मनाइरहेको छ । त्यसैले स्खलन उसको नियति बन्न पुगेको छ । गोकुल बाँस्कोटा काण्ड त्यसैको पछिल्लो पटाक्षेप हो । काण्डैकाण्डले भरिएको ओलीतन्त्रको दुईवर्षे शासन गणतन्त्रको लज्जा बन्यो । यही लज्जाको भार थेग्न नसकेर प्रधानमन्त्री ओली तेह्रथुम पुगे । तर उनको जन्मदिन स्वयंमा अर्को लज्जाको विषय बन्यो । गणतन्त्रको कोखमा छुरा धसिसकेपछि उनले गणतन्त्रलाई नै बयलगाडामा लोड गरेका थिए । उनका कुनै धनकुवेर मित्र वा दलालले चक्कामा तोरीको गेडा हाल्ने कुरा भएन । त्यो बयलगाडा बालुवाटारको हिलोमा नराम्रोसँग फसिरहेको छ ।

विचारमा बिर्को
न्युरोडको पीपलबोट पञ्चायतकालमा वैचारिक छलफलको चौतारी हुने गर्थ्यो । हिजोआज त्यहाँ कुनै चहलपहल छैन । पीपलबोटमा पुस्तक–पत्रिका बेच्ने एक मित्र भन्छन्— इकोनोमिस्ट, फ्रन्टलाइन जस्ता पत्रिका त आउनै छाडिसके । किताबमा पनि कर थोपरिएको हुनाले त्यस्ता पत्रिका र पुस्तकहरू या त आउँदै आउँदैनन्, आए पनि बिक्री नै हुँदैनन् । विभिन्न विदेशी म्यागेजिन, पत्रिका खोज्नुपरे पीपलबोटको सम्झना आउँथ्यो । विज्ञ अर्थमन्त्री युवराज खतिवडाको किताबमा कर लगाउने नीतिले पढ्ने संस्कृतिमाथि नै धावा बोलेपछि बदलिएको दृश्य हो यो ।
संकेतहरू सामान्य नै हुन्छन्, परिणाम एकत्रित भएपछि असामान्य देखिने हो । विचारमा बिर्को लगाउने उद्यम ओली सरकार गठन भएदेखि नै सुरु भएको थियो । आमसञ्चार र सामाजिक सञ्जाललाई प्रत्यक्ष–अप्रत्यक्ष नियन्त्रण गर्ने प्रयत्न सुरुदेखि नै जारी छ । कानुन बनाएर, पुलिस लगाएर र अरिंगाल सेना परिचालन गरेर गायक, कलाकार, लेखक, पत्रकार सबैलाई तह लाउने कोसिस पनि देखिएकै छ । प्रतिगमनको ओरालो झर्न थालेपछि भूतकालका दृश्यहरू दोहोरिन थाल्छन् । शाहीकाल, संकटकाल, भ्रष्ट बहुदल र पञ्चायतकालको क्रमिक झझल्को बल्झाउने राजसी तामझाम, भ्रष्टाचार, अत्याचार, धरपकड र सेन्सरसिपका एक–एक घटना द्रुत प्रतिगमनका झर्रा प्रमाण हुन् ।
त्यसो त समृद्धि नामको बुख्याँचा देखाएर पूरै मुलुकलाई विचारशून्यतामा झार्ने प्रयत्न अझ चहकिलो छ । समृद्धिको रटान लगायो, रेल–पानीजहाजको फुस्रो गफ छाँट्यो, सक्कियो ! सामाजिक न्यायको कुरै गर्नुपरेन, काम त परैको कुरा भो ! समृद्धिकै पनि एउटा वैचारिक धरातल हुन्छ । त्यतातिर त झन् सोच्नैपरेन । अन्धाधुन्द ठूला परियोजनाका नाममा विदेशी ऋणको भारी जनताका टाउकामा बोकाइदियो, आफूलाई कमिसनको डिल गर्न पाए पुग्यो । पहिचानका कुरा गर्ने मूर्ख हुन् भनेर भाषण गर्‍यो, आफू दौरा–सुरुवालमा ठाँटिएर शासकीय पोज देखायो, भैगो । शासकीय शक्ति र पुलिसको डन्डा लगाएर समाजलाई विचारशून्यतामा ठिँगुर्‍याएपछि सञ्चार माध्यममा दिनदिनै र मिनेट–मिनेटमा छाउने कुरा पो के होला र भन्ने हुन्छ । त्यसैले भ्रष्टाचार, नौटंकी जन्मदिवस, अनेक काण्ड र दम्भी पोज आदि खजाना आफैले मिडियालाई दियो । अनि कुर्लिनलाई मसला भैहाल्यो, विचार किन चाहियो ?

पेलानमा जनता
सिद्धान्ततः राज्य भनेकै जनतामाथि शासन र दमन गर्ने औजार हो । तैपनि लोकतन्त्रमा राज्य र जनताबीच आदानप्रदानको सम्बन्ध हुन्छ भन्ने मानिन्छ । जनताले चुनावमार्फत आफ्नो सार्वभौमसत्ता राज्य चलाउने सरकारलाई दिन्छन् । कर तिर्छन्Ù श्रम गरेर जीवन, शक्ति र सम्पत्तिको उत्पादन पनि गर्छन् । बदलामा राज्यले जनताका आधारभूत आवश्यकता पूरा गर्छ र काम गर्ने वातावरण निर्माण गर्छ भन्ने विश्वास गरिन्छ । अर्थात्, राज्य अभिभावकको भूमिकामा हुन्छ । हाम्रो राज्य अभिभावकको भूमिकामा छ कि शासकको ?
चल्तीमा रहेको खोटो संविधानले नै पनि सिंहदरबारमा केन्द्रित शासकीय शक्तिलाई विकेन्द्रीकरण गर्नका लागि प्रदेश र स्थानीय तहको परिकल्पना गरेको छ । तर प्रधानमन्त्री ओलीको दिमागमा पञ्चायतकालीन नारायणहिटीले बास गरेको छ । त्यसैले उनले सबै शक्ति बालुवाटारमा केन्द्रित गरे । संग्रहालयमा परिणत भइसकेको नारायणहिटीलाई गणतन्त्रको धरातलमा जबरजस्ती रोप्न खोजेपछि हुने प्रतिगमन हो । पेलानमा पर्ने जनता नै हुन् । फलस्वरूप प्रदेश र स्थानीय तह फगत सेतो हात्ती बन्नु अस्वाभाविक भएन । कानुनी र प्रशासनिक व्यवस्थापन नै नगरिदिएर यो सरकारले प्रदेश र स्थानीय तहलाई केवल दोहनको औजार बनाइदिएको छ ।
चौतर्फी दोहनको सिकार भएका जनताको हालत के छ त ? सबैभन्दा डरलाग्दो दोहनको माध्यम भएको छ— कर । करको दायरा विस्तार गर्ने नाममा संघीय सरकारले अनेक किसिमका कर थोपर्‍यो । स्थानीय तहले पनि विभिन्न नामका कर थपेको छ । एउटा आम नेपालीले दैनिक कति कर तिर्छ होला ? दाल, चामल, तरकारी, साबुन, स्याम्पुदेखि चियाचमेनासम्म दैनिक उपभोग्य सामग्रीमा अप्रत्यक्ष कर । फोन, इन्टरनेटदेखि सञ्चारका साधनमा पनि कर तिर्नुपरिहाल्यो । लत्ताकपडा होस् वा मेसिनरी सामान, पेट्रोलियम होस् वा आवागमनका साधन, शिक्षा होस् वा स्वास्थ्यका सेवा र सामग्री, कर नतिरेको कुनै विषय छैन । मालपोत, घरजग्गा वा पर्यटन सबैतिर कर ह्वात्तै बढाइएको छ ।
दैनिक करको यति ठूलो रकम जनताबाट निचोरेर लिने राज्यले जनताका निम्ति कुनै जिम्मेवारी वहन गर्छ ? जनता त कर तिर्दा–तिर्दा कागतीझैं निचोरिने भए, राज्यले भने न शिक्षा न स्वास्थ्य न आवागमन न अरू कुनै सुरक्षा ठीकसँग दिएर जनतालाई आश्वस्त तुल्याउँछ । आफ्नै मुलुकमा अडिने कुनै सम्भावना पनि दिँदैन । अनि विदेश जान तयार भएको एउटा नागरिकलाई गाउँकै साहू, सहकारी, बैंक, राज्यकै वैदेशिक रोजगारीसँग सम्बन्धित निकायदेखि वैदेशिक रोजगारीका दलाल र म्यानपावर कम्पनीसम्म सबैले कानुनी, गैरकानुनी दुवै तरिकाले लुट्छन् । तिनैले विदेशबाट कमाएर पठाउने पैसामा बल्छी थाप्न हाइफाइ बैंक, रेमिटान्स कम्पनी, टेलिकम कम्पनी लगायत विदेशी झिलिमिली सामग्री आयात गर्नेहरू पसल थापेर बसेका छन् ।
राज्य र राज्यले काँध चढाएर राखेका सबै नाफाखोर र दलालहरू पोस्नुपरेपछि एउटा आमनेपाली निचोरिएर दुब्लो हुनु अस्वाभाविक होइन । त्यति धेरै रगत–पसिना बुझाइसकेपछि पनि बचेको पैसा रहेछ भने घडेरी र घरवाला सपनाको पासो थापेर अर्का थरी दलाल र सरकारी एजेन्टहरू नै बसेका छँदै छन् । त्यसै गरी राम्रो शिक्षा बेच्ने नाममा खुलेका शिक्षाका पसल, औषधीदेखि आईसीयुसम्म बेच्न बसेका स्वास्थ्यका पसल पनि छँदै छन् । गाउँबाट जरा उखेलेर मान्छेलाई सहरको पासोमा तान्ने अनेक सपना, तर्क र तथ्य बेच्नेहरूको धन्दा पनि चलेकै छ । आम जनताले यो भ्रमपूर्ण दलाल अर्थतन्त्र टिकाइदिएका छन् । अभिभावक ठानिएको राज्यसँग त्यो जनताले कुनै कुरामा पनि भर पर्न सक्दैन । बच्चाको शिक्षाका बारेमा सोच्दा होस् वा परिवारका सदस्यको उपचार वा मर्दापर्दा, अप्ठ्यारो पर्दा ‘मेरो राज्य छ नि’ भन्ने कुनै भरोसा छैन ।

प्रतिगमन उत्सव
ओलीतन्त्रलाई सबैको भार थेगिरहेको यो जनताको भरोसा बन्नु छ त ? त्यसो हुन्थ्यो भने बर्थडेदेखि पोस्टरसम्मका अनेक प्रपञ्चमा ढुकुटी रित्त्याउँदा छाती चस्स हुन्थ्यो होला । प्रतिगमनको ताण्डव नृत्यमा मग्न ओलीतन्त्रको प्राथमिकता जनता होइनन् । ऊ एमसीसी वा विश्व बैंकको भरोसा बन्न सक्छ, तर जनताको भरोसा बन्न सक्दैन । प्रतिगमनको विचारबाट जन्मिएको ओलीतन्त्रले प्रगतितिर समाजको नेतृत्व गर्न कसरी सकोस् ? स्मरण रहोस्, यो केही काण्डको सतही कुरा होइन, विचारको प्रश्न हो । सफ्टवेयर नै प्रतिगमनको भएपछि त्यसले प्रगतिको मेसिन चलाउन सक्दैन । आलुको जरामा तरुल फल्दैन । त्यसैले ओलीतन्त्र प्रतिगमनकै चरमोत्सवमा झुमिरहनु अनौठो होइन ।
ट्वीटर : @YugPathak

Page 7
दृष्टिकोण

सत्ता, शक्ति र भ्रष्टाचार

- टीकाराम भट्टराई

 

सत्ताले शक्ति पैदा हुन्छ र शक्तिले भ्रष्टाचार गर्न उत्प्रेरित गर्छ । भ्रष्टाचारका अनेक अर्थ रहे पनि यो लेखमा यसलाई आर्थिक अपराधका रूपमा मात्र उल्लेख गरिएको छ । आर्थिक अपराधका उत्प्रेरक तत्त्व नै सत्ता, शक्ति, पहुँच र संगठन हुन् । शक्तिमा नरहेको व्यक्तिले आर्थिक भ्रष्टाचार गर्न असम्भवप्रायः हुन्छ ।
विभिन्न मुलुकका सत्ता र शक्ति प्राप्त विभिन्न व्यक्ति, जसले आर्थिक भ्रष्टाचार गरेका छन् वा गर्ने प्रयत्न गरेका छन्, उनीहरूको उत्प्रेरक तत्त्व नै उनीहरूका पछाडि रहेको शक्ति वा सत्ता हो । आर्थिक भ्रष्टाचार सत्ताबाट अलग हुनै सक्दैन भन्ने उदाहरण हो— चीन । त्यहाँ भ्रष्टाचारको अभियोगमा मृत्युदण्ड जस्तो कठोर सजाय दिइन्छ, तैपनि भ्रष्टाचारको चुनौती निरन्तर बढिरहेको छ । आर्थिक भ्रष्टाचारको मूल स्रोत शक्ति र सत्ता भएपछि, निःसन्देह, जो–जो जुन–जुन बखत सत्ता र शक्तिमा हुन्छन्, तिनैले गर्ने आर्थिक अपराध हो— भ्रष्टाचार । कार्यपालिका वा व्यवस्थापिकामा मात्र होइन, न्यायपालिकामा हुने भ्रष्टाचार पनि सत्ताबाटै संरक्षित हुन्छ । आवधिक निर्वाचनका माध्यमबाट पालैपालो सरकारमा जाने दलका नेताहरू नै भ्रष्टाचारको अभियोगमा मुछिने, चोखिने वा सजायको भागी हुने भएकाले यो निरन्तरको प्रक्रिया पनि हो । यसर्थ सत्ता, शक्ति र भ्रष्टाचार अन्योन्याश्रित छन् भनिएको हो ।
तर सत्तामा जानेबित्तिकै सबै नेता भ्रष्ट हुन्छन् भन्ने निष्कर्षचाहिँ गलत हुनेछ र दलको नामै लिएर फलानो दल भ्रष्ट र फलानो दल निष्कलंक भन्न पनि निकै गाह्रो हुन्छ । सत्ता र शक्तिको आडमा गरिने भए पनि मूलतः व्यक्तिमा अन्तर्निहित आपराधिक मनोवृत्ति नै भ्रष्टाचारको कारक तत्त्व हो । विश्वमा र नेपालमा पनि कैयौं त्यस्ता व्यक्ति छन्, जसले सत्ता र शक्तिलाई दुरुपयोग गरेनन् र निष्कलंक रही सत्ताबाहिर आउन सफल भए । मन्त्री वा शक्तिशाली कुनै पदमा निर्वाचित वा मनोनीत वा नियुक्त आफ्ना मित्र वा आफन्तहरूलाई शुभकामना र बधाई दिने क्रममा मैले जहिल्यै एउटै वाक्य प्रयोग गर्ने गरेको छु, ‘त्यो पदमा पुगेपछि पनि तपाईंको कुमारित्व कायम नै रहोस्, शुभकामना छ ।’ नेपालमा शक्ति र सत्तामा पुगेर पनि आर्थिक अपचलन नगरिकन कार्यकाल बिताउनेहरूको संख्या न्यून नै हुन्छ । कतिपय घटना सतहमा आएका होलान्, कतिपय नआएका होलान् । रीत पुर्‍याएर गरिएका भ्रष्टाचारहरू सतहमा आउने सम्भावना न्यून हुन्छ । आफ्नै घर, गाडी र बैंक ब्यालेन्स नभएका कतिपय व्यक्तिको व्यवहार र खर्च भने ती सब हुनेहरूको भन्दा बढी देखिने गरेको छ । निश्चय नै त्यस्ता व्यक्तिहरू रीत पुर्‍याएर भ्रष्टाचार गर्ने श्रेणीमा पर्छन् । यसरी रीत पुर्‍याएर भ्रष्टाचार गर्नेहरू सतहमा नआउने भए पनि तिनको आर्थिक अनुशासनको कुमारित्व भने नष्ट भएकै हुन्छ ।
केही घटनालाई हेरौं । विगतमा राजनीतिक वृत्तमा सक्रिय वा कर्मचारीतन्त्रमा कार्यरत जजसलाई करोड वा सोभन्दा बढीको भ्रष्टाचारको आरोप वा मुद्दा नै लागेको छ वा सफाइ मिलेको छ, ती सबैजसो सत्ता र सत्ताभित्रको पनि विशेष सत्तामा क्रियाशील व्यक्तिहरू नै रहेको देखिन्छ । यो तथ्यले के पुष्टि गर्छ भने, आर्थिक भ्रष्टाचारमा संलग्न वा आरोपित व्यक्ति सत्ता र शक्तिकै आडबाट निःसृत भएर आपराधिक मनोवृत्तिमा लिप्त हुन पुग्छन् । परम्परादेखि नै चलिआएको ‘सत्ताको उन्मादले व्यक्तिलाई अन्धो बनाउँछ’ भन्ने भनाइसँग असहमत हुने अवस्था आजसम्म देखिएको छैन । सत्ताको उन्माद चढ्दै गएपछि आफ्नो पछाडि रहेको सत्ता वा शक्तिले आफ्नो आपराधिक क्रिया वा मनोवृत्तिलाई संरक्षण गर्छ वा निगरानी संयन्त्र वा अदालतले समेत केही गर्न सक्दैन भन्ने मनोविज्ञान व्यक्तिविशेषमा क्रमशः विकास हुन थाल्छ । एक पटक स्मरण गरौं त, विगतमा राजनीतिक वृत्तमा काम गर्ने जजसलाई करोडौं–करोडको अपचलनको आरोप लाग्यो वा पुष्टि भयो वा कतिपय मुद्दा अदालतमा विचाराधीन छन्, ती कुन–कुन शक्ति र सत्ता वा सत्ताभित्रको पनि विशेष सत्तामा पहुँच र प्रभाव राख्ने व्यक्तिहरू थिए ? यो प्रश्नको जवाफ हिजो पनि एउटै थियो, आज पनि एउटै छ र भोलि पनि एउटै रहनेछ । यसर्थ निःसंकोच भन्न सकिन्छ, सत्ता र शक्तिको अहंकार नै भ्रष्टाचारको कारक तत्त्व हो ।
आर्थिक भ्रष्टाचार सत्तामा रहनेहरूले नै गर्ने आपराधिक कार्य हो । जो सत्तामा छ, त्यसैको वरपर यो आपराधिक कार्य घुमिरहन्छ । पालैपालो सत्तामा गएका वा भविष्यमा जाने व्यक्तिहरू नै भ्रष्टाचारका पात्र र प्रवृत्ति हुने भएकाले आवधिक निर्वाचनबाट सत्ताको परिवर्तन भए पनि भ्रष्टाचारको अन्त्य हुँदैन, पात्र र प्रवृत्तिहरू मात्रै फेरिने हुन् ।
यसर्थ कुन पात्र वा प्रवृत्तिलाई भ्रष्टाचारको अभियोग वा आरोप लाग्यो भन्ने प्रश्न त्यति महत्त्वपूर्ण र औचित्यपूर्ण प्रश्न होइन । हाम्रो जस्तो मुलुकका लागि यो नियमित प्रक्रियाजस्तै हो । त्यसरी आरोप वा अभियोग लागेका व्यक्तिहरूलाई स्वतन्त्रतापूर्वक अनुसन्धान र अभियोजन गर्ने कार्यमा सरकारको सहयोग हुन्छ कि हुँदैन, अहं प्रश्नचाहिँ यो हो । विगतमा हामीले भ्रष्टाचारको आरोपमा अदालतमा बयान दिन फूलमाला लगाएर जाने व्यक्तिहरू पनि देख्यौं । त्यति मात्रै होइन, पार्टीविशेषका झन्डा बोकेका सयौं नेता–कार्यकर्ता त्यस्ता व्यक्तिका पछिपछि हिँडेको पनि देख्यौं । यस्तो लज्जास्पद दृश्य कम्तीमा केही वर्षयता देखिन छाडेको छ । यसले राजनीति र अपराधको भिन्नता छुट्याउन युवा पुस्ता सक्षम हुँदै गएको संकेत गर्छ । तर भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता भएको प्रतिकारस्वरूप संसद अवरुद्ध गरेको दृश्य नेपाली नागरिकले केही हप्ताअघिसम्म देख्नुपर्‍यो । भ्रष्टाचारको आरोप लागेर मुद्दा दर्तासमेत भइसकेका व्यक्तिहरूका पछिपछि देखिने जुलुस वा भीड वा तिनलाई संरक्षण गर्न संसद नै अवरोध गर्ने प्रवृत्ति कायम रहेसम्म सत्ता र शक्तिको आडमा हुने भ्रष्टाचारलाई अप्रत्यक्ष रूपमा सहयोग र सद्भाव नै मिल्छ । आफ्नो दलको समर्थक वा नेता वा कार्यकर्तालाई भ्रष्टाचारको मुद्दा लाग्दा ढाडस दिने र उसको समर्थनमा संसद नै अवरुद्ध गर्ने दलले अर्को दलको नेता वा कार्यकर्तालाई आरोप लाग्दा औंलो ठड्याउने नैतिक साहस राख्दैन । भ्रष्टाचार वा आपराधिक कृत्य विशुद्ध सम्बन्धित व्यक्तिको आपराधिक मनोवृत्तिको परिणाम हो भन्ने हेक्का सबैले राख्न सक्नुपर्छ । त्यस्तो आपराधिक मनोवृत्तिलाई ढाडस दिने वा संरक्षण दिने कार्यबाट सम्बन्धित दलको साखमा मात्र होइन, नियतमै प्रश्न उठ्छ ।
आरोप वा मुद्दा लाग्दैमा आरोपित व्यक्ति वा अभियुक्त अपराधी हुँदैन । त्यो त केवल आरोप वा अभियोग मात्र हो । त्यस्तो आरोप वा अभियोगबाट सफाइ लिनु व्यक्तिविशेषको निजी जवाफदेहिता वा जिम्मेवारी हो । आरोप वा अभियोग लागेको व्यक्तिलाई स्वच्छ सुनुवाइको मौका दिएर अनुसन्धानको दायरामा ल्याउने र मुद्दा हेर्ने अदालतलाई प्रभाव र दबाबबिना मुद्दाको फैसला गर्न सहयोग गर्ने कामसम्म सरकारको हो । विधिको शासन र स्वतन्त्र न्यायपालिका भएको मुलुकमा आरोप लाग्ने र सफाइको मौका पाउने विषय सम्बन्धित व्यक्तिमै छाडिदिनुपर्छ । सरकारको कर्तव्य र दायित्व पनि यही हो । व्यक्तिको निजी क्रिया वा आपराधिक मनोवृत्तिबाट जन्मने अपराधलाई राजनीतिक दल वा सत्ता वा शक्तिले संरक्षण गर्नु हुँदैन भन्ने हेक्का हरेक राजनीतिक दलमा हुनुपर्छ । आरोपित वा अभियुक्तलाई संरक्षण गर्ने कार्यले अपराध त बढ्छ नै, त्योभन्दा बढी राजनीतिमा आपराधीकरणको ढोका खुला हुन्छ । परिपक्व, पुराना र स्थापित राजनीतिक दलहरूले कुनै पनि आवरणमा वा सत्ता र शक्तिको आडमा हुने अपराध वा आपराधिक मनोवृत्तिलाई ढाकछोप वा संरक्षण गर्ने कार्य अविलम्ब बन्द गर्नुपर्छ । होइन भने ती दलको अस्तित्व भ्रष्टाचारको भाइरसले समाप्त पार्ने निश्चित छ ।

दृष्टिकोण

संसारकै उच्च भू–भागबाट...

- लिसा होनान,निकोला पोलिट

 

हामी दुवै नेपाल आएदेखि नै जलवायु परिवर्तनको वास्तविक असर हिमाल र नदीहरूमा मात्र नभई सबैभन्दा बढी मानिसहरूमा परेको देखेर अचम्मित भएका छौं । किसानले बालीनालीमा नयाँनयाँ रोग देखेका छन्, पहाडी र हिमाली समुदायहरूले पहिरोको सामना गरेका छन्, सहरका बासिन्दाले डेंगुजस्ता नयाँ रोगको सामना गरेका छन्, तराईका बासिन्दा बाढीपीडित भएका छन् । अहिले जलवायु परिवर्तन सबैका लागि यथार्थ भएको छ । त्यसैले संयुक्त अधिराज्य बेलायत नेपाललाई जलवायु संकटको सामना गर्न र महत्त्वाकांक्षी योजना अगाडि बढाउन आफूले गरेको प्रयासबारे जानकारी दिँदै ‘संसारकै उच्च भू–भागबाट’ जलवायु परिवर्तन सम्बन्धी आफ्नो कथा भन्ने प्रयासमा सहयोग गर्न चाहन्छ ।
नेपाल जलवायु परिवर्तनको सबैभन्दा उच्च जोखिममा रहेका २० मुलुकहरूमा पर्छ । नेपालको ६० प्रतिशत जनसंख्या जलवायु परिवर्तनको जोखिममा छ र यसका हिमनदीहरू वर्षको ६० मिटरको दरले साँघुरिँदै छन् । फलस्वरूप जोखिमपूर्ण हिमतालहरू बन्दै छन् । गत वर्ष काठमाडौंको तापक्रम विश्वव्यापी औसत वृद्धिभन्दा दोब्बर दरमा बढेकाले यहाँसमेत डेंगु रोग देखा पर्‍यो । अप्रत्याशित मौसमी घटनाहरू सामान्यजस्तै भइसकेका छन् । नेपालको इतिहासमै पहिलो पटक थाहा पाइएको चक्रवातले ३५ जनाको ज्यान लियो । त्यसैले जलवायु सुरक्षाको काम नेपालका लागि ज्यादै महत्त्वपूर्ण छ । संयुक्त अधिराज्यले नेपालको विपद् पूर्वसूचना प्रणालीमा सुधार ल्याउनमा र विपद् व्यवस्थापन सम्बन्धी नयाँ निकाय स्थापनामा सहयोग गर्दै आएको छ । हामीले नेपालमा अझै जलवायुमैत्री भौतिक पूर्वाधार बनाउन, मानिसहरूलाई विपद्पछि सहयोग गर्ने थप राम्रा उपाय पहिल्याउन अनि जोखिमपूर्ण क्षेत्र र जोखिमपूर्ण जीविकोपार्जनबाट उनीहरूलाई स्थानान्तरण हुन सहयोग गरिरहेका छौं ।
करिब ८० किलोमिटरको चौडाइमा, समुद्री सतहबाट ८० मिटरको उचाइदेखि ८,००० मिटरसम्म पुग्ने नेपाल जलवायु प्रयोगशाला पनि हो । जलवायु परिवर्तनका चुनौती हेर्ने र समाधान पर्गेल्ने मौलिक अवसर नेपाललाई छ । नेपाल भ्रमण वर्षमा र पर्या–पर्यटनमा सामुदायिक वनदेखि, पानी व्यवस्थापन, जलवायुमैत्री कृषिसम्ममा चुनौतीहरू छन् र समाधान परीक्षणको मौका पनि छ । खास गरी नेपालको मौलिक भूपरिधि/भूपरिदृश्य जोगाएर जलवायु परिवर्तनबाट बचाउन सकिने प्रकृतिमा आधारित समाधानहरूबारे नेपालले विश्वलाई धेरै सिकाउन सक्छ । संयुक्त अधिराज्यले किसानहरूलाई सौर्य ऊर्जा प्रयोग गरी पानी तान्ने पम्पको निर्माण, स्थानीय अनुकूलन योजना तर्जुमा, स्याउ कृषकहरूका लागि मौसम बिमा र मौसम भविष्यवाणी सुधार गर्न विश्वस्तरीय जलवायु मोडलिङका लागि सहयोग लगायतका यस्ता केही समाधान विकास गर्न नेपालसंँग मिलेर काम गरेको छ ।
अत्यन्त न्यून उत्सर्जन, निर्माणाधीन जलविद्युत् परियोजनाहरू, सहज सौर्य ऊर्जा र विश्वमा कीर्तिमान राख्न सफल वन व्यवस्थापन र प्राकृतिक संसाधनहरूले गर्दा नेपाल जलवायु आकांक्षामा अगाडि छ । आफ्नो हरित अर्थतन्त्रले कसरी आर्थिक वृद्धि प्रबर्द्धन गर्न सक्छ, गरिबी न्यूनीकरण गर्न सक्छ वा भारतजस्ता छिमेकी मुलुकको समेत उत्सर्जन कसरी घटाउन सक्छ भन्ने देखाई नेपालले यो क्षेत्र र विश्वलाई यस विषयमा बाटो देखाउन सक्छ । त्यसैले पनि संयुक्त अधिराज्यले नेपालसंँग मिलेर अरुण ३ र त्रिशूली जलविद्युत् परियोजनाबाट यसको प्राकृतिक स्रोतको विकास गर्न र सौर्य ऊर्जा सम्बन्धी कार्यक्रममा नवीनता ल्याउन अनि वन विकास कोष (फरेस्ट डिभलपमेन्ट फन्ड) को स्थापना गर्न मिलेर काम गरेको छ ।
क्षेत्रीय उत्कृष्ट आयोजक ः नेपाल एसियाको ‘वाटर टावर’ भनिने हिमालहरूको काखमा अवस्थित छ । यी हिमालबाट बग्ने नदीहरूको पानीमा १ अर्ब ६५ करोड मानिस निर्भर छन् । यसको विकास उपयुक्त क्षेत्रीय सहयोगमा भर पर्छ । त्यस्तै वायुको गुणस्तर, ऊर्जा व्यापार र हिमनदीहरूको क्षयीकरणलाई प्रभावकारी रूपमा सम्बोधन गर्न क्षेत्रीय स्तरका उपायहरू चाहिन्छन् । यसै सन्दर्भमा हिन्दुकुश हिमालयको ‘कल टु एक्सन’ लाई व्यवहारमा लागू गर्न यो क्षेत्र र त्यसभन्दा परसम्म प्रभाव पार्न महत्त्वपूर्ण रूपमा लिइएको ‘सगरमाथा संवाद’ मा नेपाललाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।
उच्च महिला जलवायु नेतृत्व ः जलवायु संकटसंँग जुध्न राष्ट्रपतिदेखि जोखिमपूर्ण समुदायसम्ममा महिलाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । मानवनिर्मित यो समस्या समाधान गर्न काम गर्नुपर्छ भनी महिलाहरूले बुझेका छन् र परिवर्तनका लागि उनीहरू शक्तिशाली पनि हुन्छन् । त्यसैले यस वर्ष ‘संसारकै उच्च स्थानबाट आएको विचार’ मा तय भएका विषयहरूमा थप विस्तृृत खोजी गरी जलवायु परिवर्तन सम्बन्धी थप आकांक्षा र कामबारे नेपाली महिलाहरूले उठाएको आवाजमा हामी पनि नेपाल र संयुक्त अधिराज्यका संयुक्त कार्यक्रम र लेखहरूको शृंखलामार्फत आफ्नो आवाज मिसाउन प्रतिबद्ध छौं ।
जलवायु लगानी परिचालनमा अगाडि ः जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्न पैसा चाहिन्छ । जलवायु सुरक्षा निर्माण गर्न र नेपालको हरित अर्थतन्त्रमा वृद्धि ल्याउन जलवायु लगानीका लागि सार्वजनिक, निजी, राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी नेपालमा भित्रिँदै छ । हालसम्मको १ अर्ब अमेरिकी डलर (१ खर्ब ११ अर्ब रुपैयाँ) भन्दा बढीको लगानीमध्ये संयुक्त अधिराज्यको हिस्सा ३० करोड अमेरिकी डलर (३३ अर्ब रुपैयाँ) भन्दा धेरै छ । संयुक्त अधिराज्यको योगदान नेपालका जलवायु चुनौतीहरू सम्बोधन गर्न र यसले हरित अर्थतन्त्रबाट धेरैभन्दा धेरै लाभ लिन सकोस् भन्नेतर्फ लक्षित छ । तर अझै धेरै गर्न बाँकी छ । त्यसैले संयुक्त अधिराज्यले नेपाललाई यसको महत्त्वाकांक्षी योजनालाई सघाउ पुर्‍याउन ग्रिन क्लाइमेट फन्डबाट र सिटी अफ लन्डनका हरित लगानीकर्ता जस्ता लगानीकर्ताहरूबाट थप लगानी भित्र्याउन सघाइरहेको छ ।
जलवायु परिवर्तनसँंग जुध्न र यसै वर्षको नोभेम्बरमा संयुक्त अधिराज्यले आयोजना गर्ने जलवायु परिवर्तन सम्मेलन (कोप २६) मा संसारकै उच्च स्थानबाट उठाइएको आवाज प्रस्ट र टड्कारो सुनिनेछ भनी सुनिश्चित गर्न संयुक्त अधिराज्य नेपालसँंग काँधमा काँध मिलाएर उभिएको छ । नेपालको आवाज र जलवायु परिवर्तनसंँग जुध्ने महत्त्वाकांक्षी प्रतिबद्धता त्यहाँ सुनियोस् भन्ने हामी चाहन्छौं ।
लिसा होनान डीएफआईडीकी नेपाल प्रमुख र निकोला पोलिट नेपालका लागि संयुक्त अधिराज्यकी राजदूत हुन् ।

 

दृष्टिकोण

अंकल सामको चर्खा गीत

डेटलाइन तराई
- चन्द्रकिशोर

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणले विश्वकै ध्यान तान्यो । अमेरिकी राष्ट्रपति प्रायः एकभन्दा बढी देशको यात्रामा निस्किन्छन्, तर यस पटक उनी अमेरिकाबाट सोझै गुजरातस्थित अहमदाबाद ओर्ले । त्यहाँ भव्य आयोजना गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई अभिनन्दन गरे । जब मोदीसँगै ट्रम्प शान्तिपूर्ण संघर्ष र सामुदायिक सामञ्जस्यका लागि महात्मा गान्धीद्वारा गरिएका कतिपय प्रयोगहरूको साक्षी सावरमती आश्रम पुगे, उनीहरूले गान्धी दृष्टिको प्रतीक ‘चर्खा’ संँगै खिचाएको तस्बिरले संसारभरिकै मिडियामा ठाउँ पायो । अहिले ट्रम्प र मोदीबीच आत्मीय आकर्षण पाइन्छ । शासन प्रमुखहरूबीचको सम्बन्धले तिनका मुलुकहरूबीचको सम्बन्धमा समेत प्रभाव पार्छ ।
चर्खा हस्तचालित यन्त्र हो, जसबाट धागोको उत्पादन गरिन्छ । गान्धीको प्रयोगले चर्खालाई अर्थशास्त्रीय अवधारणाका रूपमा खडा गरेको छ । गान्धी चर्खालाई भुइँमान्छेको आशाको प्रतिनिधि मान्थे । सामान्यजनको स्वतन्त्रतालाई उनी
चर्खाभित्र हेर्थे । गान्धी भन्थे, ‘अहिंसाको रचना कारखानाहरूको सभ्यताको जगमा हुन सक्दैन, त्यो शान्तिपूर्ण गाउंँहरूको जगमा सम्भव छ ।’ चर्खा अर्थव्यवस्थाले शोषणको बहिष्कार गर्छ । शोषण नै हिंसाको सारतत्त्व हो । चर्खाले स्वावलम्बी बनाउँछ, जो स्वतन्त्रताका लागि अपरिहार्य हुन्छ । भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा श्रमप्रतिको सम्मानलाई वैयक्तिक र सार्वजनिक जीवनमा व्यक्त गर्न चर्खा चलाउने परम्परा बसाइएको थियो । गान्धीले गर्दा नै चर्खा विचारका रूपमा समेत विकसित हुँदै आयो । रोचक पक्ष के देखियो भने, सावरमती आश्रमको आगन्तुक पुस्तिकामा ट्रम्पले महात्मा गान्धीको नामै उल्लेख गरेनन् । त्यहांँ उनले आफ्ना खास मित्र मोदीलाई धन्यवाद मात्र लेखे । ट्रम्पको यो सुनियोजित लेखाइको आर्थिक–राजनीतिक अर्थ छ । यस सन्दर्भमा भारतभित्र जुन व्यापकतासाथ विमर्श हुनुपर्थ्यो, ‘गोदी’ मिडियाका कारण त्यो हुन सकेन ।
अमेरिकी राष्ट्रपतिलाई कतिपयले ‘अंकल साम’ वा ‘चचा साम’ ले पनि सम्बोधन गर्छन् । यसको एउटा पृष्ठभूमि छ । वास्तवमा ‘अंकल साम’ न्युयोर्कको एक व्यापारी स्यामुअल विल्सनसंँग गांँसिएको छ, जसलाई अंकल साम विल्सन पनि भनिन्थ्यो । स्यामुअल इमानदार, विश्वासी र देशका लागि समर्पित व्यक्ति थिए । सन् १८१२ मा अमेरिकी युद्धका बेला उनी सेनाका लागि मासु सप्लाई गर्थे, जसमाथि ‘युएस’ को मोहर लागेको हुन्थ्यो, जसले सरकारी माल भन्ने दर्साउँथ्यो । बिस्तारै–बिस्तारै अंकल साम विल्सन केवल ‘अंकल साम’ मा परिणत हुन पुगे । सन् १८३०–६१ मा कार्टुनिस्टहरूले ‘अंकल साम’ लाई अमेरिकी फौजको प्रतीकका रूपमा प्रशस्त प्रयोग गरे । पहिलो विश्वयुद्धका क्रममा अमेरिकी सेनामा भर्तीका लागि जेम्स मोन्टगोमरी फ्ल्यागले एउटा पोस्टर बनाए, जसमा अंकल सामको तस्बिरसँंगै लेखिएको थियो, ‘आई वान्ट यु फर अमेरिकन आर्मी’ । दोस्रो विश्वयुद्धका क्रममा समेत यस प्रकारको पोस्टरको खुब प्रयोग गरियो । यस प्रकार अंकल साम र अमेरिकी फौजबीच अटुट नाता कायम हुन गयो । दुइटै एकअर्काको पर्याय बन्दै गए ।
आफ्नो सैन्यशक्तिकै बलबुतामा अमेरिकाले पूरै विश्वमाथि हैकम चलाउँदै आएको छ । यसको सिङ्गो अर्थव्यवस्था नै हतियारको कारोबारमा टिकेको छ र अमेरिका भनौं वा अमेरिकी राष्ट्रपति यसै कारोबारलाई अगाडि बढाउन प्रयासरत रहन्छन्, जो अहिले पनि देखियो । राष्ट्रपति ट्रम्पले यस पटक भारतसंँग ३ अर्ब डलर बराबरको सैनिक हेलिकप्टर र उपकरण खरिद सम्झौता हुने घोषणा गरेका छन् ।
सआदत हसन मन्टोले अमेरिकी राष्ट्रपतिलाई हतियारको सौदागरका रूपमा देखे र उनलाई अंकल साम (चचा साम) नै भनेर सम्बोधन गरे । मन्टो प्रसिद्ध दक्षिण एसियाली साहित्यकार हुन् । उनले सात दशकपूर्व चचा सामलाई सम्बोधन गर्दै पत्रहरूको लामो शृंखला लेखे । त्यसमा लेखिएका कतिपय कुरा आज पनि भविष्यवाणीझैं साबित हुँदै गएका छन् । अमेरिकी राष्ट्रपतिका नाममा लेखिएका ती चिठीमा मन्टोले तत्कालीन साहित्यिक, सामाजिक, सांस्कृतिक उठापटक र अन्तर्राष्ट्रिय राजनीतिक–आर्थिक चालबाजीको भयानक तस्बिर कोरेका छन्, जसबाट अमेरिका कसरी फल्दै–फुल्दै गएको छ भन्ने थाहा हुन्छ । व्यंग्यात्मक शैलीमा लेखिएको त्यो चिठी शृंखला राजनीतिक, आर्थिक र साहित्यको बेजोड नमुना हो । अहिले मन्टो बांँचेका भए यस क्षेत्रमा बढ्दो गरिबी, असमानता र साम्प्रदायिक तनावमाझ फस्टाउँदो हतियार कारोबारलाई लिएर फेरि चचा सामलाई चिठी लेख्थे ।
अमेरिकी राष्ट्रपतिको भारत यात्राकै क्रममा दिल्लीमा दंगा चर्कियो । सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरूमा समेत त्यसको चिन्ता र चासो छचल्कियो । दुई पुराना समुदायबीचको तनावको बाछिटा दक्षिण एसियाभरि नै पर्ने गरेको छ । भारतमा दंगाको इतिहास पुरानो छ, त्यसको आफ्नै पृष्ठभूमि छ । तर अहिले कसरी हुन गयो ? अमेरिकी राष्ट्रपतिको भ्रमणको मौका छोपेर भारतको आन्तरिक तनावलाई अन्तर्राष्ट्रियकरण गर्न देशी–विदेशी उक्साहटमा त्यो भएको एउटा सानो वृत्त बताउँछ । तर कतिपय यसलाई समग्रतामा नियाल्नुपर्ने आग्रह राख्छन् । भारतको केन्द्रीय सरकारले ल्याएको नागरिकता संशोधन कानुनसँंग असहमति राख्नेहरू विभिन्न किसिमले आन्दोलन चलाउँदै थिए । यसै पृष्ठभूमिमा भारतीय सुप्रिम कोर्टका न्यायाधीश दीपक गुप्ताले भनेका छन्, ‘असहमतिको अधिकार लोकतन्त्रका लागि आवश्यक हो । सरकार र देश दुई अलग चीज हुन् । देशको आलोचना नगरेर पनि सरकारको आलोचना गर्न सकिन्छ ।’ जस्टिसको भनाइ त्यतिखेर आएको छ, जतिखेर असहमतिको अधिकार र तरिकालाई लिएर भारतीय समाज विभाजित हुँदै छ ।
दंगालाई लिएर भारतभित्रै केही गम्भीर प्रश्न खडा भएका छन् । शान्तिपूर्ण विरोध गर्ने दाबी गरिए पनि सोका लागि चाहिने नैतिक–मानसिक तयारी
यसका कर्ताहरूमा भएन कि ? त्यसै गरी सरकारी संरक्षणमा गरिएको भड्काउ भाषणले एउटा पक्ष उत्तेजित भयो कि ? बहुमतको शासनले असहमत पक्षको रक्षा गर्न सकेन कि ? हिंसाको सुरुआत कसरी भयो ? के दंगाको जन्म फरक पक्षमाथिको घृणा, अफवाह र भड्काउ भाषणले हुँदैन ? दंगा हुन्छ कि गराइन्छ ? के दंगा आफैमा बजार आधारित राजनीति हो ? प्रत्यक्ष युद्धभन्दा दंगाजस्ता आन्तरिक द्वन्द्वको निर्यात अहिलेको नयांँ सामरिक रणनीति हो ? यी प्रश्नको जबाफको खोजीमा भारतीय राजनीति विभाजित देखिएको छ ।
दंगाले सबैभन्दा बढी सामाजिक बनोटलाई नोक्सान गर्छ । एक पटक चर्किएको मन जोड्न वर्षौं लाग्छ । उर्दुको एउटा शेर नै छ—आग का क्या है पल दो पल में लगती हैबुझते बुझते एक जमाना लगता है ।
दंगाका कारण भुइँतहका मान्छेहरू सबैभन्दा बढी पीडित हुन पुग्छन् । दंगापीडित वा दंगा गर्नेहरू प्रायः कमजोर आर्थिक–सामाजिक वर्गका हुन्छन्, उक्साउनेहरू जहिले पनि पछाडि हट्छन् । दंगामा सबैभन्दा बढी नोक्सान उदारवादी समूहको हुन्छ, जसले जहिले पनि मेलमिलाप र संवादको कुरा गरिरहेको हुन्छ । दुवैतर्फका उत्तेजित जमातले तिनको उपेक्षा गर्छन्, कतिपयले दोषी नै ठहर गर्छन् । यसका बावजुद दिल्लीमा कैयौं टोलका मध्यमार्गीहरूले सद्भाव जुलुस निकालेका छन् । उदारवादी समूहको परीक्षा यस्तै बेला हुने हो । जस्तोसुकै कठिन परिस्थितिमा पनि मानवतालाई जोगाउनैपर्छ । सामुदायिक तनाव र दूरीमा जब पक्षविशेषले राजनीतिक लाभ खोज्न थाल्छ, त्यतिखेर सबैभन्दा घोचपेच उदारवादी समूहमाथि नै हुन्छ । सार्वजनिक बुद्धिजीवीहरू सबैतिरका कट्टरपन्थीहरूको निसाना र चेपुवामा पर्छन् । अहिले दिल्लीमा त्यही देखिएको छ ।
भारत फेरि ती समस्याहरूको सामना गर्दै छ, जोसँंग महात्मा गान्धी जीवनपर्यन्त जुझिरहे । कुनै पनि लोकतन्त्र असहिष्णुताले चल्न सक्दैन । शान्तिपूर्ण सहअस्तित्वबाटै लोकतन्त्रले सञ्जीवनी पाउँछ । गणतन्त्र र सभ्य समाजको मूल पहिचान यही हो । यसको पहिलो प्रत्याभूति सरकारी पक्षले दिन सक्नुपर्छ । के गान्धीलाई बिर्सेर भारत आफ्ना चुनौतीहरूबाट जोगिन सक्छ ? धार्मिक कट्टरवाद, अन्धराष्ट्रवाद र उपभोक्तावादले चारैतिर संकट निम्त्याउँदै छ । भय, अविश्वास र अनिश्चितताको माहोलमा भारतको लोकतन्त्र र समाजले
स्थिरता पाउन सक्दैन । चचा सामको आफ्नै चर्खा गीत छ, जसको गायनमा लोभिइरहे भारत मौलिक परम्परा र पहिचानबाट पछाडि पर्दै जाने निश्चित छ ।

Page 8
कला र शैली

झुपडी हुँदै डिजिटल हल

पानी चुहिने हलमा बोरामाथि पलेँटी कसेर फिल्म हेर्ने रुपन्देहीवासी अहिले डिजिटल हलमा सुतेर हेर्छन्
- सञ्जु पौडेल
बुटवलस्थित क्यूएफएक्स सिनेमाजमा चलचित्र हेदै दर्शक । तस्बिर ः कान्तिपुर

(तिलोत्तमा, रुपन्देही) - बुटवल उपमहानगरपालिका ११ का ५५ वर्षीय विक्रम गलामीले पाँच जना साथीसित मिलन चलचित्र मन्दिरमा पहिलोपटक हिन्दी चलचित्र ‘बोर्डर’ हेरेका थिए । त्यसपछि भने उनी हल पसेका छैनन् । ‘२०५४ मा त्यो फिल्म हेर्दा दर्शक खचाखच थिए,’ उनले भने, ‘अहिलेका हल कस्ता छन्, देखेकै छैन ।’ लामो समय भारतमा बसेकाले नेपाली सिनेमाघरको तुलनामा भारतीय स्तरीय लाग्ने गरेको उनले सुनाए । त्यसबेला नेपाली हलमा बिजुली काटिएपछि अँध्यारो हुन्थ्यो । पुनः बत्ती आएपछि फिल्म हेरेको उनको सम्झना छ । ‘एक्लै गइन्थेन,’ उनले भने, ‘साथीभाइ जाँदा अँध्यारोमा चिच्याइन्थ्यो ।’ अहिले शनिबारबाहेक हल खाली देख्ने गरेको उनले बताए । कतिपयले युट्युब र टेलिभिजनमै मन परेको चलचित्र हेर्ने गरेकाले हलसम्म नआउने उनको बुझाइ छ ।
तिलोत्तमाका नारायण काफ्ले फिल्म भनेपछि हुरुक्कै हुन्थे । ‘नयाँ चलचित्र लागेको दिन साइकलमा कुदिहाल्थें,’ उनले भने, ‘बुटवलको हाटबजार छेउमा झुपडीमा चलचित्र देखाइन्थ्यो ।’ उनका अनुसार तपतप पानी चुहिए पनि चलचित्र रोकिन्थेन । त्यसबेला भुइँमा बोरा बिछ्याएर र बेन्चमा बसेर हेर्ने गरेको उनले सुनाए । उनका अनुसार त्यसबेला र अहिलेका हलको अवस्थामा आकाश जमिनको फरक छ । ४४ वर्षअघि फस्ट क्लासमा बसेर चलचित्र हेर्दा १ रुपैयाँ, मध्यममा ७५ पैसा र अन्तिममा ५० पैसा तिरेर हेर्न पाइने उनले बताए । उनले ‘कान्छी’, ‘माइतीघर’ जस्ता नेपाली चलचित्र हेरेको बताए । बुटवलका महेश्वरगोपाल लाकोलले पहिलो चलचित्र मन्दिर (हल) स्थापना गरेका थिए । त्यसबेला बटौली (पारि बुटवल) स्थित आफ्नै घरमा हल खोलेर मिलन प्रकाश चलचित्र मन्दिर सञ्चालन गरेका थिए । उक्त हल २०३१ सालसम्म सञ्चालन भएको उनका भाइ कमलले बताए ।
बटौलीको हल बन्द भएपछि ४२ वर्षअघि सिद्धार्थनगर नगरपालिका–३, खजहनामा पञ्चरत्न चलचित्र मन्दिर सञ्चालनमा आएको स्थानीय रवि पन्तले बताए । ‘विद्यालय पढ्दा त्यहीं फिल्म हेर्थ्यौं,’ उनले भने, ‘त्यो हल बन्द भएको २५ वर्ष भयो ।’ त्यसबेला चलचित्र उत्पादन कमै हुन्थे । भारतबाट नयाँ चलचित्र आउन समय लाग्ने भएकाले यहाँका मानिस साइकल चढेर नौतनवा, गोरखपुरसम्म जाने गरेको उनले बताए ।
२०३५/३६ मा बुटवलका द्वारिका उदयले घुम्ती चलचित्र हल सुरु गरे । द्वारिकाका छोरा प्रदीपले राजेश टुरिङ नाम दिइएको हललाई विभिन्न स्थानमा पुर्‍याएर चलचित्र प्रदर्शन गरिन्थ्यो । ‘एउटै नाममा लामो समय चलाउन नपाइने भएपछि ०३९ बाट लक्ष्मी टुरिङ नाम राखेर चलायौं,’ उनले भने, ‘त्यतिबेला मेला, बजार र गाउँमा चलचित्र देखाउने चलन थियो ।’ त्यसबेला नौ वर्षका प्रदीपले बुबाकै मोवाइल हलमा चलचित्र हेरेको बताए । लामो समय घुम्ती हल सञ्चालन गरेपछि द्वारिकाले ०४३ मा बुटवल चलचित्र मन्दिर स्थापना गरेका थिए । त्यसबेला प्रदीपका दाइ राजकुमारले बुबासँगै
हल हेर्थे । अध्ययन गरिरहेका प्रदीपले सघाउन थाले । उक्त हलमा १ हजार ७३ जना अट्ने क्षमता थियो । बुटवलवरिपरिका गाउँबाटै पनि मानिस बस चढेर फिल्म हेर्ने आउने गरेको प्रदीपले सम्झिए । त्यतिबेला एक करोड रुपैयाँ लगानीमा बुटवल चलचित्र मन्दिर खोलेपछि कपिलवस्तुको कृष्णनगर र नवलपरासीको सुनवलमा पनि उदयकै लगानीमा हल सञ्चालनमा आएका थिए । तर, द्वन्द्वकालको सुरुवातपछि हलमा मान्छे आउन कम भयो । कपिलवस्तु र सुनवलको हल बेचेर बुटवलको मात्र चलाएको प्रदीपले सुनाए । कान्छा छोरा प्रदीपले ०७३ सालबाट पुनः चलचित्र मन्दिरमा लगानी गरे । टुके प्रोजेक्टर, सराउन्डिङ साउन्ड, एसी, लक्जरियस सिट रहेको हलमा बुधबार द्वारिका डे स्वरूप १ सय ५० रुपैयाँ
मात्र टिकट शुल्क लाग्छ । अन्य बेला २ सय ५० रुपैयाँ पर्छ ।
चलचित्र मन्दिर धमाधम खुल्न र सञ्चालनमा आउन थालेपछि एकै ठाउँमा रहेको जनसंख्या हेरेर मात्र चलचित्र हल खोल्ने प्रावधान गराउनुपर्ने उदयको मत छ । ‘भाषाभाषी संरक्षणका लागि बनेका चलचित्रलाई द्वारिका उदयमा न्यून
शुल्क लिएर सञ्चालन गर्न सक्ने व्यवस्था भएकाले जातजाति र भाषासँग सम्बन्धित सबैलाई त्यस्ता चलचित्र उत्पादन गर्न पनि उनले सुझाएका छन् ।
सिद्धार्थनगरकी कल्पना सिंखडाले ‘कालीदास’ चलचित्र हेर्न हल जाँदा हलको बनावट
उनलाई सामान्य लाग्थ्यो । थोत्रा कुर्सी,
छिर्नेबित्तिकै ठुस्स गनाउने दुर्गन्धित हलमा कोच्चिएर फिल्म हेर्नुपर्थ्यो । ‘हलभित्र असभ्य भाषा प्रयोग हुन्थ्यो,’ उनले भनिन्, ‘परिवारसँग चलचित्र हेर्न जाने वातावरण नै थिएन ।’ अहिले उनी चलचित्र ‘आमा’ हेर्न गएको द्वारिका उदय सिनेमा हल सोचेभन्दा बेग्लै पाएको बताइन् ।
२०४१ मा बुटवलको राजमार्ग चौराहामा सञ्चालनमा आएको कालिका चलचित्र मन्दिर अहिले पनि चलिरहेको छ । हरिप्रसाद दुवाले त्यसबेला यहाँका मानिस चलचित्र हेर्न गोरखपुरसम्म जाने गरेको देखेर सिनेमा हल खोले चल्छ भन्ने लागेर लगानी गरेको उनका छोरा कपिल दुवाले बताए । त्यसै बेला मिलन चलचित्र मन्दिर पनि बुटवलको मिलनचोकमा सञ्चालनमा आएको थियो । उक्त चलचित्र मन्दिर पनि अहिलेसम्म चलिरहेको छ ।
रूपन्देहीको सिद्धार्थनगरमा मनोरन्जनको माध्यम बन्न ०५८ सालमा खुलेको पद्मश्री चलचित्र मन्दिरमा अहिले दर्शकको चाप खस्केको छ । यसका सञ्चालक राजु पौडेलले प्रविधिको विकासले सञ्चार क्षेत्रले फड्को मार्दा चलचित्र हातहातमा पुग्ने गरेको बताए । कासीपछि बुटवलमा डिजिटल माध्यमको पहिलो भयु सिनेमा हल सुरु भयो । अमरपथस्थित सिंह कम्प्लेक्समा सञ्चालित हलले दर्शकको आकर्षण राम्रै बटुल्यो । सिद्धार्थनगरमा सञ्चालित कासी सिने प्लेक्स आउँदो चैतमा ६ वर्ष पुग्दैछ । मोफसलकै पहिलो मल्टिप्लेक्सका रूपमा स्थापित यस सिनेमा घरमा ढाइ करोड रुपैयाँ लगानी गरेको सञ्चालक ओम जैशीले बताए ।
त्यस्तै देशैभरि शाखा विस्तारमा लागिरहेको क्यूएफएक्स सिनेमाजको मल्टिप्लेक्स हल बुटवलमा खुलेपछि दर्शकको ध्यान केन्द्रित गरेको छ । ‘सुतेरै चलचित्र हेर्न पाइने भएपछि बरु अलि महँगै भए पनि केही हुँदैन,’ क्यूएफएक्सबाट चलचित्र हेरेर फर्किएका प्रकाश मल्ल ठकुरीले भने, ‘यस्तो हल भयो भने बच्चाबच्चीलाई र वृद्धवृद्धालाई अझै गज्जब ।’ उनले यो हल सञ्चालनमा आएदेखि अन्यमा चलचित्र नहेरेको बताए । चलचित्रको पर्दाबाट पात्र आँखैअगाडि आएजस्तो हुने, जताबाट सुने पनि क्लियर आवाजले यसप्रति लोभ्याएको उनले सुनाए ।
गत मंसिरबाट बुटवलको भाटभटेनीमा सञ्चालनमा आएको क्यूएफएक्सले नयाँ प्रविधिबाट मानिसलाई चलचित्र हेर्ने वातावरण मिलाएको क्यूएफएक्सका अप्रेसन म्यानेजर सुशील मानन्धरले बताए । बुटवलमा क्यूएफएक्सका दुइटा पर्दा सञ्चालनमा छन् ।

कला र शैली

सिर्जनात्मक काममा अवसर कति ?

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– विराटनगरबाट २६ वर्षअघि काठमाडौं आउँदा दीपाश्री निरौलाले कलाकार बन्ने सपना बोकेकी थिइन् । तर, यहाँ उनले चिनेजानेका कोही थिएनन्, खानबस्नै धौधौ थियो । मदनकृष्ण श्रेष्ठले रेडियो नेपाल बोलाएर बालनाटकमा अभिनय गराए । त्यसबापत् उनले पाउँथिन् ३ सय रुपैयाँ । त्यसपछि वासुदेव मुनालको बालनाटकबाट २ सय रुपैयाँ पाइन् । ब्लकस्टर ‘छक्का पन्जा’ सिरिजकी निर्देशक दीपाश्रीले हाँस्दै सुनाइन्, ‘५ सय पाउँदा काठमाडौं नै किन्छुजस्तो भएको थियो तर त्यसपछि पनि यहाँ टिक्न निरन्तर संघर्ष गर्नुपर्‍यो ।’
‘बुलबुल’ का निर्देशक विनोद पौडेलको सपनाचाहिँ हिरो बन्ने थियो । फिल्म अध्ययनपछि हिरोमा छानिए । भूमिका थियो, लागूपदार्थ दुर्व्यसनीको । चरित्र खोज्दै वाग्मती किनारामा कैयौं दिन बिताए, दुर्व्यसनीको सिकार भएकासँग संगत गरे । फिल्म सुटिङ भयो तर कहिल्यै रिलिज भएन । उनले अभिनय गरेका अन्य पाँच फिल्म पनि हलसम्म पुगेनन् । विनोदले ठट्टयौली शैलीमा सुनाए, ‘हिरो होइन, निर्देशक र कलेजको प्रिन्सिपल बनें ।’ उनी ओस्कार इन्टरनेसनल फिल्म कलेजको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रिन्सिपल हुन् ।
‘फिल्म, भिडियो, एनिमेसन र कर्पोरेट क्षेत्रमा सिर्जनात्मक कामको अवसर’ विषय अन्तरक्रियामा बुधबार दीपाश्री र विनोदले अनुभव बाँडेका हुन् । सिर्जना सूत्रले गरेको कार्यक्रममा एनिमेसन कम्पनी इन्स्सेन्ट रेन स्टुडियोका सीईओ किरणभक्त जोशी र राइड सेयरिङ सर्भिस पठाओका क्षेत्रीय निर्देशक असीम मानसिंह बस्न्यात पनि वक्ता थिए । उनीहरूले सिर्जनशील क्षेत्रमा अगाडि बढ्दाका आफ्नो अनुभव सुनाउँदै नयाँ पुस्तालाई सुझाव पनि दिए ।
‘गुनासो नगरी राम्रो काम गर्ने हो भने अवसर आफैं आउँछ,’ हलिउड फिल्म निर्माण कम्पनी डिज्नेमा लामो समय काम गरेका किरणभक्तले सुनाए, ‘पहिले आफूमा विश्वास गर्नुस्, त्यसपछि तपाईंको आइडियाले अरूको मन जित्छ ।’ उनको कम्पनीले १२ वर्षदेखि हलिउड एनिमेसनको काम नेपालबाटै गर्दै आइरहेको छ । ‘सुरुमा हलिउड कम्पनीले पत्याउँदैन्थे, हामीले कामबाटै प्रमाणित गर्‍यौं । अहिले भारतमा समेत काम गराउँछौं,’ उनले भने ।
पठाओका असीममानले ‘पुरातन शैलीमा जागिर खाने सोचले अब नहुने’ बताए । धैर्य राखेर काममा केन्द्रित हुँदा सफलता पाइने दीपाश्रीले बताइन्– ‘हाम्रा फिल्मले अहिले करोडौंका व्यापार गर्छन्, अढाइ दशकको मिहिनेतको फल हो यो ।’ फिल्म, संगीतसहित हरेक सिर्जनशील क्षेत्रमा अघि बढ्न चाहनेलाई अवसर प्रदान गर्ने ‘प्लेटफर्म’ का रूपमा सिर्जना सूत्र स्थापना गरिएको संस्थापक सम्पदा मल्लले बताइन् ।

 

कला र शैली

सानवीले जितिन् किड्स प्लानेट अवार्ड

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– इन्डोनेसियाको बालीमा आइतबार सम्पन्न ‘किड्स प्लानेट इन्टरनेसनल’ प्रतियोगितामा सिनियर गर्ल्सतर्फ काठमाडौं धुम्बाराईकी १२ वर्षीया सानवी स्वाँर विजेता बनेकी छन् । गत कात्तिक महिनामा रेडियन्ट इभेन्टले गरेको ‘किड्स अफ द इयर– १०१९’ सिनियरतर्फको उपाधि पाएसँगै सानवीले अन्तर्राष्ट्रिय स्तरको बालबालिका सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पाएकी थिइन् ।
‘किड्स प्लानेट इन्टरनेसनल’ को ग्रान्ड फिनालेमा नेवारी समुदायमा प्रख्यात लाखे नाचसँगै ‘Σयालिन्चा’ को प्रस्तुति शैली र यसको परम्परागत कथनसमेत उनले खुलाएकी थिइन् । निर्णायक समूहको ‘नेपालमा गएर के भन्छौ ?’ भन्ने प्रश्नमा उनले ‘किड्स प्लानेटले बालबालिकालाई कसरी हिँड्ने, कसरी बोल्ने पक्षमा क्षमता अभिवृद्धि, आत्मविश्वास र सामाजिकीकरण गर्न सघाउ पुर्‍याएको छ । यही भन्छु’ जवाफ दिएकी थिइन् । उपाधिसँगै उनले ट्रफी, सिल्भर क्राउन, गिफ्ट ह्याम्पर र बालीका विभिन्न खेलमा सहभागी हुने अवसर पाइन् ।
बालविकास र बालप्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नेपाल, इन्डोनेसिया र अफ्रिकी मुलुकको ८ देखि १४ वर्ष उमेर समूहका ४५ जना बालबालिकाबीच गरिएको प्रतिस्पर्धामा नेपालबाट ६ जना सहभागी थिए । सिनियर र जुनियर बालबालिकाबीच गरिएको प्रतिस्पर्धामा नेपालबाटै चिराग बजगार्इंले सिनियर र प्रतीक भट्टले जुनियर बोयज समूहमा सोही अवार्ड प्राप्त गरे । पेमा डोमा लामाले बेस्ट ट्यालेन्ट, जयश अग्रवालले बेस्ट लिडरसिप, यकिन अर्यालले मोस्ट ट्यालेन्ट उपाधि पाए ।
हालै मुलुक फर्केकी सानवीले अवार्ड पाएर निकै खुसी भएको बताइन् । जोन डिबे स्कुलमा ८ कक्षा अध्ययनरत सानवीलाई गायन, फेसन डिजाइन र खेलकुदमा रुचि छ । उनी भविष्यमा सफल इन्टेरियर डिजाइनर बन्न चाहन्छिन् भने र मोडलिङमा पनि उनको इच्छा छ । दृढ भएर उनले भनिन्, ‘मैले हाम्रो कन्ट्री र कल्चरलाई बालीमा देखाएँ ।’ उनलाई ‘Σयालिन्चा’ बारे उनकी आमा सभ्यता खड्काले बुझाएकी थिइन् । नेपालका तर्फबाट नौलो रूपमा प्रतिनिधित्व हुने गरी कुमारी र लाखेबारे धेरै प्रस्तुति भइसकेकाले कमैलाई थाहा भएको ‘Σयालिन्चा’ लाई नै लिइएको खड्काले बताइन् ।

कला र शैली

रिक्सा चालकलाई ‘धुलो’ को सम्मान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– फिल्म ‘धुलो’ को युनिटले बुधबार राजधानीमा दुई रिक्सा चालकलाई सम्मान गरेको छ । चार दशकदेखि ठमेल, क्षेत्रपाटी एरियामा रिक्सा चलाउँदै आएका हीरालाल तामाङ र दुई दशकदेखि सोही स्थानमा रिक्सा चलाउँदै आएका बलबहादुर श्रेष्ठ सम्मानित भएका हुन् । वरिष्ठ चलचित्रकर्मी नीर शाह, नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्का र निर्देशक प्रद्युम्न मिश्रले दुवैलाई सम्मानपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा करिब एक सय रिक्सा चालकलाई फिल्म ‘धुलो’ अंकित ज्याकेट पनि प्रदान गरिएको थियो । आउँदो शुक्रबार रिलिज हुन लागेको फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बालगायतको अभिनय छ ।

 

कला र शैली

खोजी 'नेपाल स्टार' को

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– यतिबेला देशभित्र सांगीतिक रियालिटी सोको माहोल व्यापक छ । फ्रेन्चाइजका रूपमा नेपाल आइडल र द भ्वाइसले निरन्तरता पाइरहेका बेला मौलिक शैलीसहित कि इन्टरटेन्टमेन्ट एन्ड रिसर्चले नेपाल स्टार आयोजना गर्न लागेको हो । आइतबार राजधानीमा भएको एक कार्यक्रममा प्रालिका प्रमुख रवीन्द्रकुमार रिजाल र वाईवाईका तर्फबाट चौधरी ग्रुपमा प्रबन्धक निर्वाण चौधरीबीच सम्झौता भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘यस्ता रियालिटी सो स्वदेशमा नै उत्पादन हुनु खुसीको कुरा हो,’ कार्यक्रमको प्रायोजन गरिरहेको वाईवाईका तर्फबाट चौधरी ग्रुपका प्रबन्धक निर्वाण चौधरीले भने, ‘युवालाई प्रोत्साहित गर्न हाम्रो ग्रुप सधैं नै तयार छ ।’ गायक रामकृष्ण ढकाल, संगीतकार आलोक श्री र गायिका अञ्जु पन्त निर्णायक रहेको स्टारको पहिलो चरणको अडिसन सकिएको छ ।

कला र शैली

शताब्दी पुरुष सम्मानित

- कान्तिपुर संवाददाता

धनगढी (कास)– कैलालीको धनगढीमा आयोजित विश्व नेपाली साहित्य महोत्सवमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । जोशीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक लाख नगदसहित सम्मान गरेकी हुन् । सम्मानित भएपछि बोल्दै जोशीले सुदूरपश्चिममा रहेका कला र संस्कृति मानव सभ्यतासँग जोडिएको बताए । सुदूर पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार भारतको दार्जिलिङ, सिलीगुडी, असम, मेघालय, सिक्किमलगायतका थलोबाट पनि साहित्यकार आएका छन् । नेपाली भाषा–साहित्य प्रवर्द्धन गर्ने उद्देश्य रहेको ६ दिने महोत्सवका अवसरमा साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, स्रष्टा मोदनाथ प्रश्रित, आरडी प्रभात चटौत, बद्रीनाथ भण्डारी, तुल्सीराम जोशीलाई सम्मानपत्र प्रदान गरियो ।

Page 9
विदेश

युरोपभरि फैलियो कोरोना

इटालीमा हालसम्म ११ जनाको मृत्यु हुनुका साथै ३ सयभन्दा बढीमा संक्रमण पुष्टि
- एजेन्सी
कोरोना भाइरस संक्रमण फैलिएपछि इटालीबाट स्पेनको बार्सिलोनास्थित विमानस्थलमा उत्रेका यात्रु । तस्बिर ः रोयटर्स

 

ब्रसेल्स/पेरिस – थुप्रै युरोपेली देशहरूले आफूकहाँ पहिलोपटक नयाँ कोरोना भाइरसको संक्रमण देखिएको जनाएका छन् ।
अस्ट्रिया, क्रोएसिया र स्विट्जरल्यान्डले कोरोना भाइरस फैलिएको इटालीसँग ती घटना जोडिएका जनाएका छन् । ती देशका अधिकारीले इटालीबाट फर्किएका व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन् ।
त्यसैगरी, ब्राजिल कोरोना भाइरसको संक्रमण देखिने पहिलो ल्याटिन अमेरिकी देश भएको छ । बीबीसीका अनुसार इटालीबाट फर्किएका ब्राजिलका नागरिकमा कोरोनाको संक्रमण देखिएको हो ।
युरोपेली देशमध्ये इटालीमा कोरोना संक्रमितको संख्या अप्रत्याशित रूपमा बढिरहेको छ । अधिकारीका अनुसार इटालीमा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । ३ सय जनाभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।
इटालीका छिमेकी देशहरूले इटालीसँग सीमा बन्द गर्ने कदम ‘असमानुपातिक’ हुने बताएका छन् । इटालीको मध्य तथा दक्षिणी क्षेत्रका साथै अन्य युरोपेली देशमा नयाँ संक्रमित देखिरहेका भए पनि फ्रान्स, जर्मनी र इटलीका स्वास्थ्यमन्त्री र युरोपेली आयोगले इटालीसँगका सीमा खुला राख्ने प्रतिबद्धता जनाएका हुन् ।
‘सीमाको वास्ता नगर्ने एउटा भाइरसबारे हामीले कुरा गरिरहेका छौं,’ इटालीका स्वास्थ्यमन्त्री रोबर्टो स्पेरान्जाले भने । उनका समकक्षी जेन्स स्पाहनले इटलिप्रति लक्षित गर्दै भने, ‘पछिल्लो अवस्थालाई छिमेकीले निकै, निकै गम्भीर रूपमा लिइरहेका छन् ।’ बीबीसीका अनुसार बिदा मनाउन इटाली पुगेर फर्केका बेलायती बालबालिकालाई घर पठाइएको छ । त्यसका साथै सरकारले यात्रा गर्नका लागि नयाँ मार्गदर्शन सार्वजनिक गरेको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले इटालीबाट बेलायत आउने उडान तत्काल बन्द गर्ने कुनै योजना नभएको बताएका छन् ।
अस्ट्रियाको इन्सब्रकमा बस्ने एक जोडीमा भाइसरको संक्रमण पुष्टि भएपछि कडा सर्तकता अपनाइएको अधिकारीले जनाएका छन् । त्यसैगरी, इटालीबाट फर्किएका एक क्रोएसियाली नागरिक र स्विट्जरल्यान्डको टिटिनोका करिब ७० वर्षको हाराहारीका मानिसमा भाइरस देखिएको हो । स्पेनमा पनि भाइरस संक्रमणको पुष्टि भएपछि करिब एक हजार पर्यटकलाई एक होटलमा राखेर निगरानी थालिएको छ । जर्मनी र फ्रान्समा हालै इटलीको भ्रमण गरेका मानिसमा भाइरस देखिएको अधिकारीले जनाएका छन् । फ्रान्समा भाइरस संक्रमणका कारण दोस्रो व्यक्तिको ज्यान गएको छ ।
भाइरसको प्रकोप थप फैलन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनका एक वरिष्ठ अधिकारीले तत्काल आवश्यक तयारी गर्न सुझाव दिएका छन् । ब्रुस एलवार्डले थुप्रै देशले कोरोना भाइरसको प्रकोपसँग जुध्नका लागि आवश्यक तयारी गरेको नदेखिएको दाबी गरे ।
सन् २०१९ मो अन्त्यमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म २ हजार ७ सय भन्दा बढी मानिसको ज्यान गइसकेको छ भने ८० हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो समय इरान र दक्षिण कोरियामा भाइरसको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ ।

विदेश

इन्डोनेसियामा बाढी

- कान्तिपुर संवाददाता

जकार्ता (एजेन्सी)– इन्डोनेसियाको जाभा प्रान्तस्थित कारावाङ जिल्लामा आएको बाढीपहिरोका कारण १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका अनुसार ३ वटा विद्यालय भवन र एक मस्जिद क्षतिग्रस्त भएको छ । अधिकारीका अनुसार ८ सय हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको छ । प्रभावित क्षेत्रबाट ४८ हजार मानिसलाई उद्धार गरी राहत सहायता प्रदान गरिएको छ ।

विदेश

दिल्लीमा अझै त्रास

- सुरेशराज न्यौपाने

(नयाँदिल्ली) - विगत दुई दिनदेखि हिंसात्मक प्रदर्शनका कारण तनावपूर्ण रहेको भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्र बुधबार भने शान्त रह्यो । बुधबार अपराह्न मौजपुर, बाबरपुर पुग्दा देखिएका दृश्य मंगलबार भएको कहालीलाग्दो हिंसा बुझाउन पर्याप्त थिए । सडकका छेउछाउमा जलेका सवारीसाधनहरू यत्रतत्र थिए । चोकचोकमा इँटाका थुप्रा थिए, सडकछेउका पसलहरू प्रायः पनि कुनै सद्दे थिएनन् । सोमबार र मंगलबार सबैभन्दा बढी हिंसात्मक घटना भएका जाफराबाद, मौजपुर, बाबरपुर, गोकुलपुरी क्षेत्र पूरै सुनसान थियो । पसलहरू सबै बन्द थिए भने सवारीसाधन फाट्टफुट्ट मात्र चलेका थिए । अधिकांशको सिसा फुटाइका थिए भने कतिपयमा आगजानीसमेत गरिएका थिए । मंगलबार सबैभन्दा बढी क्षति मौजपुर र गोकुलपुरीको टायर बजार र कबाडी बजारमा पुगेको थियो ।
परिस्थिति असामान्य बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार अपराह्न गृहमन्त्री अमित शाह र दिल्लीका उपराज्यपाल जी बैजालसँग भेट गरेका थिए । त्यो भेटपछि केन्द्र सरकारले हिंसाग्रस्त क्षेत्रमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो ।
बुधबार स्थिति शान्तिपूर्ण रहे पनि त्यहाँमा बासिन्दामा अझै पनि भय र त्रास रहेको देखिन्छ । तर, स्थानीय बासिन्दाहरूमा अहिले भने भय र त्रास कायमै छ । स्थानीयहरू बाहिरका मानिससँग बोल्नबाट अझै डराइरहेका थिए । स्थानीयहरू घरका छतबाट सडकको दृश्य नियालिरहेको देखिन्थे । केही स्थानीयहरूले समयमै पर्याप्त मात्रामा सुरक्षाफौज तैनाथ गरिएको भए हिंसात्मक घटना हुने थिएन भन्दै आक्रोशसमेत व्यक्त गरे । यसैबीच, दिल्ली उच्च अदालतले भड्काउ भाषण दिने कपिल मिश्रलगायतका नेतालाई पक्राउ गर्न आदेश दिएको छ । भारतीय जनता पार्टीका दिल्ली नेता कपिल मिश्रले गत आइतबार नागरिकता ऐनको विरोधमा प्रदर्शन गरिरहेकालाई तीन दिनभित्र प्रदर्शन अन्त्य गर्न अन्यथा आफूहरूले जे पनि गर्न सक्ने भन्दै खुला चुनौती दिएका थिए । मिश्राले त्यस्तो अभिव्यक्ति दिएको भोलिपल्टदेखि प्रदर्शनले दंगाको रूप लिएको थियो । सोमबार र मंगलबारसम्म भएको दंगामा परेर एक प्रहरीसहित २७ जनाको ज्यान गएको छ भने २ सय ५० घाइते भएका छन् ।

विदेश

‘भारत–नेपाल सम्बन्ध अद्वितीय’

- कान्तिपुर संवाददाता

नयाँदिल्ली (कास)– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले भारत–नेपाल सम्बन्ध अद्वितीय भएको बताएका छन् । बुधबार नयाँदिल्लीमा आयोजित एक कार्यक्रम सिंहले ‘सम्बन्ध प्रकृति, भगवान् र बलियो जनस्तरको सम्बन्धले दुई देशलाई जोडेको’ बताए । नेपालका लागि पूर्वभारतीय राजदूत मन्जीवसिंह पुरीको पहलमा प्रकाशित ‘शिख हेरिटेज नेपाल’ पुस्तक माथिको अन्तरक्रिया कार्यक्रममा सिंहले त्यस्तो धारणा राखेका हुन् ।
सिंहले शिख धर्म, गुरुनानक र नेपालबीचका सम्बन्ध उजागर गर्ने अभिलेखमाथि प्राज्ञिक अनुसन्धान गर्न सके झन् थप प्रशंसनीय हुनेसमेत बताए । शिख समुदायका गुरुनानकले करिब ५ सय वर्षअघि काठमाडौंको बालाजु क्षेत्रमा केही समय बिताएको बताइन्छ । पुरी नेपालमा राजदूत रहँदा बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले पुस्तक प्रकाशनमा ल्याएको थियो । कार्यक्रममा बोल्दै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले गुरुनानकसम्बन्धी सम्पदा जेजति छन्, त्यो नेपाली र नेपालको भएको बताए ।

Page 10
समाचार

'सरकारले लोकमान शैलीमा तर्साउन खोज्यो'

- ऋषिराम पौड्याल

(काठमाडौं) - पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्कीको शैलीमा विरोधीहरूलाई तर्साउन खोजेको आरोप लगाएका छन् । उनले बालुवाटारको ललिता निवासको जग्गा र ७० करोड कमिसनसम्बन्धी टेप प्रकरण ढाकछोप गर्न ‘मातातीर्थको जग्गा’ को प्रसंग उठाएर तर्साउने प्रपञ्च रचिएको बताए ।
प्रतिनिधिसभामा बुधबार भट्टराईले आफू प्रधानमन्त्री भएका बेला मातातीर्थको जमिन मोहीका नाममा दर्ता गरेको जिम्मेवारी लिए । उनले विरोधीलाई तर्साउने प्रपञ्चमा लाग्दा आफैंलाई हानि हुने चेतावानी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिए । उनले भने, ‘पूर्व र वर्तमान प्रधानमन्त्री गाउँको बुकुरो (झुपडी) बाट आएर महल बनाउने हैसियतमा पुग्नुभएको छ । सबैको सम्पत्ति छानबिन गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले गत ३ गते प्रतिनिधिसभामा सरकारको दुईवर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममा भट्टराई प्रधानमन्त्री भएका बेला २०६९ सालमा नेपाल ट्रस्टका नाममा रहेको मातातीर्थलगायतको करिब १७४ रोपनी जमिन मोहीका नाममा दर्ता गरिएको भन्दै छानबिन गर्ने बताएका थिए । भट्टराई आफूले भने त्यतिबेला कानुनसम्मत निर्णय गरेर मोहीका नाममा जमिन दर्ता गराएको स्पष्टीकरण दिएका हुन् । उनले यति होल्डिङ्सलाई जमिन दिन नपुगेको भए मोही बसेको जमिन खोसेर दिन चुनौती दिए । ‘जमिन खोसिने भयो भन्दै मोही चिन्तामा रहेका छन्,’ उनले भने । भट्टराईले मंगलबार मातातीर्थ गएर मोहीलाई भेटेका समेत थिए । मातातीर्थको जमिन मोहीका नाममा दर्ता गराउने र ट्रस्टको जमिन यति होल्डिङ्सलाई दिने प्रसंग फरक रहेको भन्दै भट्टराईले प्रधानमन्त्रीका नजिक रहेका पूर्वसञ्चार तथा
सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूस मागेको टेप प्रकरणलाई विषयान्तर गर्न खोजिएको आरोप लगाए ।
राजा महेन्द्रले नै त्यागेको ‘फर्मायी बिर्ता’ का रूपमा रहेको जमिन नै मोहीका नाममा दर्ता भएको पूर्वप्रधानमन्त्री भट्टराईले बताए । ‘२०१६ सालमा बिर्ता उन्मूलन भएपछि रैकर भएको जमिन मोहीका नाममा दर्ता भएको हो,’ उनले भने, ‘एमालेका तत्कालीन प्रधानमन्त्री माधव नेपालको समयमा प्रक्रिया सुरु गरी महान्यायाधिवक्ताको कार्यालयसमेतको सुझावमा दर्ता गर्नुपर्ने राय दिइएको हो । ललिता निवासको जसरी कसैले लाभ लिएर निर्णय भएको होइन ।’
करिब २५ मिनेट बोलेका भट्टराईले अधिकांश समय प्रधानमन्त्री ओली र सरकारको आलोचनामा खर्चेका थिए । उनले बोल्दा प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदहरूले तालीसमेत बजाएका थिए ।

७० करोड प्रकरणमा जवाफ माग
सांसदहरूले पूर्वसञ्चारमन्त्री बाँस्कोटाले ७० करोड घूस मागेको टेप प्रकरणबारे यथार्थ जवाफ दिन माग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बुधबार कांग्रेस सांसद राजनकुमार केसीले ७० करोडको काण्डमा प्रधानमन्त्री चुपचाप बस्न नमिल्ने बताए । कांग्रेसकै रामबहादुर विष्टले घूस प्रकरणमा बाँस्कोटामात्र जोडिएका हुन् कि अरू पनि छन् भन्ने प्रश्न गर्दै छानबिन हुनुपर्ने बताए । कांग्रेसकी मीना सुब्बाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री चुप बस्न नमिल्ने बताइन् ।
नेकपाका भवानीप्रसाद खापुङले कांग्रेसले आफ्ना नेताको गल्ती नदेख्ने गरेको बताए । नेकपाकै रेखा कुमारीले संसदीय समिति बनाएर २०४८ सालदेखि सार्वजनिक पदमा बस्नेको सम्पत्ति छानबिन गर्न माग गरिन् । नेकपाका यज्ञ सुनुवार र मोहन बानियाँले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने बताए । कांग्रेसकी रंगमती शाहीले सिटामोल नपाएर हुम्लामा १४ जनाले ज्यान गुमाएको बताइन् ।

Page 11
अर्थ वाणिज्य

जाइकाको टोलीले थाल्यो परामर्श

कोटेश्वर–जडीबुटी खण्डको डीपीआरलाई अर्को टोली आउने
- विमल खतिवडा

(काठमाडौं) - कोटेश्वर–जडीबुटी खण्डको ट्राफिक जाम हटाउने उपायबारे जापनिज सहयोग नियोग (जाइका) ले पठाएको कन्सल्टटेन्ट (परामर्शदाता) ले परामर्श थालेको छ । आइतबार आएको छ सदस्यीय टोलीले सम्बन्धित
मन्त्रालय, विभाग र यस मातहतका कार्यालयसँग कुन विकल्प अपनाउने भन्दै परामर्श सुरु गरेको हो । वर्ष दिनअघि जाइकाले प्रारम्भिक अध्ययन गरेर बुझाएको प्रतिवेदनअनुसार नै तीन विकल्पमध्ये सरकारले एउटा विकल्प छान्नुपर्नेछ ।
‘कन्सल्टेन्टको ११ जनाको टिम हुन्छ,’ सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भने, ‘थप पाँच जनाको टोली केही दिनभित्रै आउनेछ ।’ उनका अनुसार परामर्श टुंगिएपछि डीपीआरको काम सुरु गरिनेछ । ‘यो टोलीले सबैसँग छलफल गरेर सरकारलाई सहज
हुने एउटा विकल्प छान्न लगाउनेछ,’ उनले भने, ‘त्यसपछि कुन विकल्पमा जाने, त्यही अनुसारको विज्ञ टोलीलाई कन्सल्टेन्टले जापानबाट बोलाउनेछ ।’
विकल्प छानिएपछि कन्सल्टेन्टमध्ये केही जाने र केही यहीँ बसेर डीपीआर तहको अध्ययनमा सघाउने छन् । ‘डीपीआर गर्न एक वर्ष लाग्नेछ,’ उनले भने, ‘जुन अध्ययन ठेक्का सम्झौता गर्ने तहसम्मको हुनेछ ।’ फ्लाइओभर र सुरुङ (२ वटा) मध्ये एउटा विकल्प छान्नुपर्ने हुन्छ । यीमध्ये अन्य विकल्प भए परामर्शदाताले बुझ्नेछन् । डीपीआरको क्रममा डाटा संकलन र सर्भेदेखि डिजाइनसम्मको काम हुनेछ । ‘सरकारले विकल्प छानेपछि त्यहीअनुसार डिजाइनको काम थालिनेछ,’ उनले भने । अध्ययनको सबै खर्च जाइकाले नै व्यहोर्नेछ । ‘कुन विकल्प छान्ने भन्नेबारे हामी आपसमा पनि छलफल गर्नेछौं,’ उनले भने, ‘छलफल नगरी निर्णय हुने छैन ।’ कसले बनाउने भन्नेबारे निर्णय भइसकेको छैन । जाइकाको वर्ष दिनअघिको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसारका तीन विकल्पअन्तर्गत पहिलो तीनकुनेबाट कोटेश्वरको बालकुमारीतर्फ यात्रु हिँड्ने पुलसम्म सवारी साधन गुड्ने अकासे–पुल बनाउने रहेको छ, जसको दूरी १ दशमलव ६ किमि हुनेछ । यो पुल चार लेनको हुनेछ । अकासे–पुल नबनाउने हो भने त्यही खण्डमा सुरुङ बनाउने दोस्रो विकल्प छ । तेस्रो विकल्प तीनकुनेबाट जडीबुटीसम्म सुरुङ निर्माण गर्ने रहेको छ । सुरुङ १ दशमलव ४ किमिको हुनेछ ।
सबैभन्दा कम लागतको विकल्प फ्लाईओभरलाई लिइएको छ, जसको लागत ९ अर्ब रुपैयाँ रहने प्रारम्भिक अध्ययनका क्रममा अनुमान गरिएको छ । यही खण्डमा निर्माण गरिने सुरुङमार्गका लागि १८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘यो प्रारम्भिक अध्ययनको रिपोर्ट मात्र हो,’ उनले भने, ‘डीपीआरपश्चात् यसको लागत र दूरी तलमाथि हुन सक्छ तर विकल्प भने यिनै हुन् ।’ उनका अनुसार महाशाखाले निकालेको विकल्पमा नयाँबानेश्वरबाट आउने सिधा सडकलाई विमानस्थल मुनिबाट जडीबुटी निकाल्ने गरी सुरुङ निर्माण गर्ने भन्ने पनि छ, जसको दूरी ९ सय मिटर र लागत २२ अर्ब आकलन गरिएको छ । यसले विमानस्थलको धावनमार्ग छुने छैन । ट्राफिक प्रहरीका अनुसार भक्तपुरबाट कोटेश्वर र्हुदै दैनिक २४ हजारभन्दा बढी सवारी साधन ओहोर–दोहोर गर्छन् । तर घण्टौं ट्राफिक जामले गर्दा यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ ।

 

अर्थ वाणिज्य

हुम्लामा होटल बुकिङ शून्य

- छपाल लामा

(हुम्ला) - गत वर्ष यतिबेला होटल व्यवसायी मानबहादुर रावतलाई फोन उठाउन र पर्यटकका लागि कोठा ‘बुक’ गर्न भ्याइनभ्याई थियो । फागुन मध्यसम्म मानसरोवर जाने करिब हजार यात्रुका लागि होटलका कोठा बुक गरिसकेका थिए । यसपालि एउटा पनि कोठा बुक नहुँदा उनी चिन्तित छन् । ‘आजसम्म एउटै कोठा बुक भएको छैन, होटल त डुब्ने भयो,’ उनले भने, ‘यस्तो सुनसान त कहिल्यै हुन्थेन ।’
होटल कैलाशका सञ्चालक रावत मात्र होइन, सिमकोटस्थित अन्य पर्यटकीय होटलका सञ्चालक यस्तै चिन्तामा डुबेका छन् । चीनमा फैलिएको नोवल कोरोना भाइरसको संक्रमणले मानसरोवर यात्रालाई प्रभावित गरेको छ । वर्षेनि चैत अन्तिम सातादेखि भारतीय धार्मिक पर्यटक हुम्लाको हिल्सा नाका भएर मानसरोवर पुग्ने गर्छन् । यसका लागि यात्रा प्रबन्ध गर्ने कम्पनीहरूले फागुन मध्यसम्म होटलका कोठा बुक गरिसक्छन् ।
गत वर्ष यतिबेला करिब १ हजार २ सय पर्यटकका लागि कोठा बुक गरिसकेका होटल शनि भ्याली रिसोर्टका सञ्चालक निमा लामा अहिले काठमाडौंमा छन् । शनि ट्राभलका प्रबन्ध निर्देशकसमेत रहेका उनले अहिलेसम्म कुनै पनि भारतीय पर्यटक मानवसरोवर जान सम्पर्कमा नआएको बताए । ‘कोरोना भाइरसको त्रासकै कारण हुनुपर्छ,’ उनले भने, ‘ग्राहक नै नआएपछि के गर्नु ?’
गत वर्ष सिमकोट भएर करिब १० हजार भारतीय पर्यटक मानसरोवर पुगेका थिए । झन्डै साढे चार महिना लामो तीर्थयात्रीहरू नेपालगन्ज र सुर्खेतबाट जहाजमा सिमकोट, सिमकोटबाट हेलिकोप्टरमा हिल्सा र त्यहाँबाट गाडीमा मानसरोवर पुग्ने गर्छन् । तीर्थयात्रीलाई लक्षित गरी पछिल्लो समय सिमकोट र हिल्सामा करोडौं लगानी गरेर स्तरीय होटल खुलेका छन् । मानसरोवर यात्राको सिजनमा ती होटलले मनग्गे आम्दानीसमेत गर्दछन् । व्यवसायी रावतले गत
वर्ष करिब ३०–३५ लाख रुपैयाँ आम्दानी भएको बताए । ‘यो वर्ष शून्य होलाजस्तो छ,’ उनले भने, ‘कोरोनाको सबैभन्दा ठूलो मार हामीमाथि पर्‍यो ।’
होटल व्यवसायी संघ हुम्लाका अनुसार सिमकोट र हिल्सामा गरेर करिब ८० वटा साना–ठूला पर्यटकीय होटल छन् । संघका अध्यक्ष मिम लामाका अनुसार प्रायः सबै होटल कुरुवाको भरमा छन् । ‘मानसरोवर यात्रा हुम्लाको आर्थिक विकासको प्रमुख आधार हो,’ उनले भने, ‘होटल व्यवसायीलाई मात्र होइन, यससँग जोडिएका अन्यलाई पनि समस्या भएको छ ।’
होटल व्यवसायीका साथै पर्यटकका भारी बोक्ने भरिया, ट्रेकिङ व्यवसायी, हेलिकप्टर कम्पनी पनि प्रभावित भएका छन् । सिजनमा चार वटा हेलिकप्टर कम्पनीले सिमकोट–हिल्सा उडान गर्ने गर्छन् । सिम्रिक एयरका पश्चिम क्षेत्र इन्चार्ज
कमल गौतमका अनुसार यतिबेला ट्रेकिङ व्यवसायीले हेलिकप्टर कम्पनीसँग छलफल गर्न सुरु गरिसक्थे । यस वर्ष भने सुनसान रहेका उनले बताए । उनका अनुसार सिजनको बेला हुम्ला–सिमकोट दैनिक करिब ४० वटा उडान हुने गर्छन् । नेपालगन्ज–सिमकोटसमेत दैनिक करिब २०–३० वटा उडान हुने गर्छन् ।
हुम्लाका होटलहरू मुख्यतया मानसरोवर यात्रालाई लक्षित गरी खोलिएका हुन् । हिउँदमा मान्छे जाडो छल्न सहरतिर जाने भएकाले मानसरोवर यात्राको सिजनले वर्षभरिको घाटा पूर्ति गर्ने
गर्छ । होटल पञ्चमुखीकी सञ्चालक छिनी लामा १ करोड लगानी गरेर खोलेको होटलको लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको बताइन् ।

अर्थ वाणिज्य

वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी

- कान्तिपुर संवाददाता

(कान्तिपुर) - नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ‘समृद्धिको आधार, राज्य–निजी क्षेत्र साझेदार’ नारासहित बुधबार ढकालले उम्मेदवारीको घोषणा गरेका हुन् ।
‘महासंघमा सक्रिय भएपछि यसकै काम र विभिन्न कार्यक्रमका सिलसिलामा देशभर पुग्ने अवसर पाएँ । उद्योगी व्यवसायी साथीहरू, नागरिक समाजका प्रतिनिधिहरूसँग ‍औपचारिक/अनौपचारिक थुप्रै बसाइ
भए, भेला र बैठकहरू भए,’ घोषणा कार्यक्रममा उनले भने, ‘जिल्ला/जिल्लाको सुझाव, आग्रह र शुभेच्छालाई स्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु ।’
ढकाल हाल महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति हुन् । यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरेका ढकाल आईएमई ग्रुप, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवर्द्धक हुन् । ढकालको जलविद्युत्, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एन्ड टुर्स, अटोमोबाइल तथा केबुलकारलगायत दुई दर्जनभन्दा बढी व्यवसायमा लगानी छ ।
उनले उद्योगी व्यवसायीको मनोबल सधैं उचो बनाउने काममा लाग्ने बताए । ‘व्यवसायीहरूको भरोसा र आशाको संवाहक बनेर काम गर्ने प्रतिबद्धता गर्दछु,’ उनले भने, ‘जिल्ला नगर तथा वस्तुगत उद्योग वाणिज्य संघहरूलाई थप सशक्त बनाउन प्राथमिकता दिनेछु ।’ उनले महासंघको भावी अध्यक्ष तथा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको पनि प्रशंसा गरे । गोल्छा भने उनको घोषणासभा कार्यक्रममा उपस्थित थिएनन् । आगामी तीन वर्षका लागि गोल्छालाई अध्यक्ष पाइसकेको बताउँदै उनले सबैसँग सहकार्य गरेर काम गर्ने बताए ।
‘तीन वर्षका लागि ‘डाइनामिक’ नेतृत्वका रूपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं ।

उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशील टिम बन्नेछ,’ ढकालले भने, ‘यो टिम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोकारवाला र साझेदारहरूसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन, हामी एक र एक जोडेर एघार बनाउनेछौं ।’ मुलुकको अर्थतन्त्रममा निजी क्षेत्रको योगदान ७५ प्रतिशत रहे पनि राज्यबाट अपेक्षाअनुसार अभिभावकको भूमिका पाउन नसकेको उनले गुनासो गरे । ‘राज्य भनेको हाम्रो अभिभावक हो र यसले हामीलाई सहजीकरण गरिदिनुपर्छ,’ उनले भने, ‘राज्यसँग आवश्यक वातावरणका लागि पहल गर्नुपर्छ र आवश्यक परे संघर्ष गरेर पनि लिनुपर्छ ।’ आगामी चैतमा हुने महासंघको ५४औं वार्षिक साधारणसभामा मुलुकभरका व्यवसायीहरूको समर्थन रहेको उनले दाबी गरे । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन्छ । उम्मेदवारी घोषण कार्यक्रममा महासंघका पूर्व अध्यक्ष सुरज वैद्य, चण्डिराज ढकाल, महासंघका उपाध्यक्ष अमेशलाल श्रेष्ठ र महासंघका सातमध्ये छ प्रदेश अध्यक्षहरू उपस्थित थिए ।

अर्थ वाणिज्य

नाका खुले, भन्सार खुलेनन्

भन्सार शुल्क बुझाउन एक दिन हिँडेर खलंगा पुग्छन् सेवाग्राही
- मनोज बडू
लेकम गाउँपालिका–३ लालीस्थित नेपाल–भारत जोड्ने झोलुंगे पुल क्षेत्र । पुल निर्माण भएपछि नेपाल–भारत सीमामा नाका खुले पनि भन्सार स्थापना नहुँदा स्थानीयलाई सामान आयात गर्न अप्ठ्यारो भएको छ ।तस्बिर ः मनोज/कान्तिपुर

(दार्चुला) - व्यास गाउँपालिका–५ धौलाकोटका चन्द्रसिंह धामीले तिग्रम नाकाबाट सिमेन्ट र सरियाको भन्सार राजस्व बुझाउन एक दिन हिँडेर सदरमुकाम खलंगा पुग्नुपर्‍यो । नाका खुले पनि सीमामा भन्सार कार्यालय स्थापना नहुँदा दार्चुलाका स्थानीयले कठिनाइ बेहोर्नुपरेको छ । ‘ठूलो परिमाणमा व्यापारिक सामान ल्याउनुपरे त ठीकै हो,’ उनले भने, ‘घरायसी प्रयोजनका थोरै सामग्री ल्याउनुपरे पनि राजस्व तिर्न खलंगा जान झन्झटिलो छ ।’
लेकम गाउँपालिका–३ लालीमा चार महिनाअघि झोलुंगे पुल बनेपछि सीमा नाका सञ्चालनमा आएको छ । तर यहाँका स्थानीयले निर्माण तथा व्यापारिक वस्तु यो नाकाबाट आयात गर्नुपरे भन्सार राजस्व तिर्न खलंगा धाउनुपर्ने लालीका स्थानीय शेरसिंह विष्टले बताए । नजिक स्थानीय बजार नहुँदा यहाँका बासिन्दाले भारतीय बजारबाट दैनिक उपभोग्य तथा निर्माण सामग्री ल्याउने गरेका छन् ।
दार्चुलामा नेपाल–भारत सीमा जोड्ने छ वटा नाका सञ्चालनमा छन् । तर पनि एउटा नाकामा मात्रै भन्सार कार्यालय स्थापना गरिएको छ । अन्य पाँच नाकाबाट राजस्व छली भइरहेको स्थानीय बताउँछन् । पञ्चायतकालमा दार्चुला छोटी भन्सार कार्यालयसँगै तिंकर, सीतापुल, दत्तु र जौलजिवी नाकामा छोटी भन्सार स्थापना गरिएका थिए ।
द्वन्द्वका बेला असुरक्षाका कारण विस्थापित कार्यालय पुनःस्थापन हुन सकेका छैनन् । नाका भने खुला भएका छन् । महाकाली भन्सार कार्यालय झुलाघाटअन्तर्गत दार्चुलाका चार र बैतडीमा झुलाघाटसँगै पञ्चेश्वर क्षेत्रतिर धर्मघाट भन्सार कार्यालय स्थापना गरिएको झुलाघाट भन्सार कार्यालयका प्रमुख रामप्रसाद चौरसियाले बताए । अहिले मूल भन्सार कार्यालय झुलाघाट र दार्चुला छोटी भन्सार कार्यालय खलंगा सञ्चालनमा छन् ।
सरकारले भन्सारमार्फत राजस्व
बढाउने नीति लिए पनि विस्थापित भन्सार कार्यालय पुनःस्थापना गर्न पहल नगरेको स्थानीयको गुनासो छ । त्रिदेशीय सीमामा रहेको सीतापुल र तिंकर छोटी भन्सार कार्यालय ०५७ मा विस्थापित भएको हो । स्थानीयले भन्सारको समस्याका कारण जोखिम मोलेर महाकालीबाट सामान
तार्ने गरेका छन् । राजस्व तिर्न खलंगा पुग्नुभन्दा जोखिम मोलेर रातिको समयमा ट्युबमै समान अवैध रूपमा तार्ने गरेको स्थानीयको भनाइ छ । नजिक पोस्ट रहेका सुरक्षाकर्मीले जानकारी पाउने भए पनि व्यापारीले केही रकम दिएर बिनारोकावट सामान भित्र्याउने गरेको स्थानीय व्यवसायी नै स्विकार्छन् ।
तिंकर भारतीय बजार र चीनको तिब्बत सीमा हो । तिब्बतबाट आयातनिर्यात हुने वस्तुको भन्सार संकलन गर्न नसक्दा राजस्व गुम्ने गरेको छ । झुलाघाट भन्सारका प्रमुख चौरसियाले भने विस्थापित भन्सार पुनःस्थापना गर्न मन्त्रालयले नै निर्णय गर्नुपर्नेमा जोड दिए । भारतको धार्चुलामा भन्सार आउट पोस्ट छ । अन्य नाकामा छैन । भारतले पनि सीमा नाकाहरूमा भन्सार चेक पोस्ट सञ्चालनमा ल्याए नयाँ भन्सार कार्यालय सञ्चालन गर्न सजिलो हुने उनको भनाइ छ ।

Page 12
अर्थ वाणिज्य

मुआब्जा लिन अंश मुद्दा

- भीमबहादुर सिंह
मुआब्जा पाउन विवाद भएको जाजरकोटको बारेकोट गाउँपालिका–८ अँधेरीखोला आसपासको जग्गा ।तस्बिर ः भीमबहादुर/कान्तिपुर

(जाजरकोट) - बारेकोट गाउँपालिका–९ काप्तीका लोकराज बस्नेत अंश र लिखत बदर मुद्दाका लागि दैनिक जिल्ला अदालत धाउँछन् । सोही गाउपालिका–८ सक्लाका धनबहादुर कुमाई लुकाइछिपाई राखेको अंश मुद्दामा अदालत धाएको लामो समय भयो ।
उनीहरू उदाहरण मात्र हुन्, जाजरकोट अदालत र मालपोत कार्यालयमा अंश, लिखत बदर, हक कायम, जग्गा रोक्कालगायत मुद्दा थुप्रिने क्रम बढेको छ । नलगाड जलविद्युत् आयोजनाले यो वर्षमा मुआब्जा वितरण गर्ने भएपछि अंशियार र जग्गा किनबेच गर्नेबीच विवाद हुँदा मुद्दा पर्ने क्रम बढेको हो । बाबु–बाजेको पैतृक सम्पत्ति अर्कै व्यक्तिको नाममा भई जग्गाको मुआब्जा प्राप्त नहुने अवस्था आएपछि अंशियारहरू अदालत धाउने क्रम बढेको हो ।
नलगाडले मुआब्जा वितरण गर्ने सूचना निकालेसँगै जग्गा विवाद बढेको स्थानीय राजुराजा सिंहले बताए । ‘विगतमा गाउँभरका स्थानीयको जग्गाजमिन एउटैको नाममा दर्ता र नामसारी गर्ने प्रचलनले अहिले समस्या निम्त्याएको छ,’ उनले भने, ‘बारेकोटमा मात्रै यस्तो समस्या एक सयभन्दा बढी परिवारमा छ ।’ उनका अनुसार पाँच पुस्तासम्म जग्गाको नामसारी नलिएका उदाहरण प्रसस्तै छन् । जग्गा भोगचलन गर्दै आए पनि आफ्नो नाममा नहुँदा स्थानीय मुआब्जा पाउनबाट वञ्चित हुने अवस्था आएको उनले जनाए ।
स्थानीयका अनुसार मुआब्जा नपाउने भएपछि मुद्दा दर्ता गर्नुको विकल्प छैन । बारेकोट गाउँपालिका–७ सुवाकोटका कर्णबहादुर शाहीले लिखत बदरका लागि अदालतको तारेख भोगिरहेको जानकारी दिए । उनका अनुसार जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका व्यक्तिको बेमाइनीले विवाद बढ्दै गएको हो । जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षमा अंश तथा जग्गा विवादका तीन दर्जन मुद्दा दर्ता भएका छन् । मालपोत कार्यालयले जग्गा विवादका करिब ६० निवेदन दर्ता भएको जनाएको छ । नलगाड जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षमा बारेकोटमा ४ हजार ६ सय रोपनी जग्गाको २ अर्ब ७३ करोड रुपैयाँ मुआब्जा वितरण गर्ने भएको छ । आयोजनाले बारेकोटमा ६ हजार रोपनीभन्दा बढी जग्गा अधिग्रहण गर्नुपर्ने जनाएको छ ।

 

अर्थ वाणिज्य

राइज फाउन्डेसन र एनआरएनएबीच सहकार्य

- कान्तिपुर संवाददाता

(काठमाडौं) - नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजित ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जलाई अन्तर्राष्ट्रियकरण गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) ले वि विल राइज फाउण्डेशनसँग सहकार्य गर्ने भएको छ । संघको सचिवालय, बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा दुई संस्थाबीच सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
संघका उपाध्यक्ष एवं व्यापार, उद्योग तथा नेपाल प्रवर्द्धन विभागका प्रमुख अर्जुन श्रेष्ठले एनआरएनएको यो सहकार्यले ओझेलमा परेका तर प्रचुर पर्यटन सम्भावना बोकेका गाउँठाउँलाई विश्वव्यापी रुपमा चिनाउन र सामाजिक–आर्थिक उन्नतिमा टेवा पुर्‍याउन प्रमुख भूमिका निर्वाह गर्ने बताए । फाउण्डेशनका संस्थापक अध्यक्ष तथा अभियानका संयोजक निर्मल श्रेष्ठले एनआरएनएको सहकार्यले यस अभियानलाई राष्ट्रिय स्तरबाट उत्थान गरी अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । अधिकतम ५ मिनेटसम्मका
भिडियोबीच प्रतियोगिता हुनेछ ।
मार्च ९ सम्म पठाउनुपर्ने र छनोटमा परेका १० उत्कृष्ट भिडियोलाई अप्रिलमा पुरस्कृत गर्ने फाउन्डेसनले जनाएको छ ।

अर्थ वाणिज्य

एनसेलको 'ह्याप्पी आवर अन रिचार्ज'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनसेलले ‘ह्याप्पी आवर अन रिचार्ज’ को योजना ल्याएको छ । ‘अझै नजिकिन्छ सम्बन्ध’ अन्तर्गत एनसेलले उक्त योजना ल्याएको हो । योजनाअन्तर्गत ग्राहकले सय रुपैयाँ र सोभन्दा माथिको प्रत्येक रिचार्जबापत भ्वाइस सेवामा छुट प्राप्त गर्नेछन् । यो योजना बिहीबारदेखि ९० दिनसम्मका लागि लागू हुने कम्पनीले जनाएको छ ।

अर्थ वाणिज्य

सकियो 'स्पिन्ज एक्टिभ गर्ल'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सौन्दर्य ब्रान्ड स्पिन्जले आयोजना गरेको ‘स्पिन्ज एक्टिभ गर्ल–२०२०’ प्रतियोगिता मंगलबार सकिएको छ । अन्तिम चरणको प्रतियोगितामा काठमाडौंका १६ कलेजले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा १० हजार विद्यार्थी सहभागी थिए । प्रतिस्पर्धामा प्रत्येक कलेजबाट एक जनालाई विजेता छनोट गरी अन्तिम चरणको प्रतियोगितामा प्रतिस्पर्धा गराइएको थियो ।

अर्थ वाणिज्य

डिसहोमको भोजपुरी च्यानल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– डिसहोमले भोजपुरी भाषाको ‘भोजपुरी म्याजिक’ च्यानल सुरु गरेको छ । उक्त च्यानलमा भोजपुरी भाषाका चलचित्र र गीत प्रसारण हुनेछ । च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भोजपुरी भाषाको मनोरञ्जन प्रदान गर्ने कम्पनीले जनाएको छ । 

अर्थ वाणिज्य

नेपाल स्टारको बैंकिङ पार्टनरमा सिद्धार्थ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सांगीतक टीभी रियालिटी सो ‘नेपाल स्टार’ को बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक आबद्ध भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल स्टार आयोजक र बैंकबीच सम्झौता भएको हो । नेपाल स्टार नेपालका लागि सातै प्रदेश र काठमाडौंमा गरी आठ स्थानमा अडिसन भएको आयोजकले बताएको छ । 

अर्थ वाणिज्य

इन्भेस्टमेन्टको दुई नयाँ योजना

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल इन्भेस्टमेन्ट बैंकले भ्रमण प्याकेज र छुटका दुई योजना बुधबार सार्वजनिक गरेको छ । बैंकको ३४औं वार्षिक उत्सवको अवसरमा पर्यटनलाई प्रोत्साहन गर्न योजना ल्याएको हो । बैंकले सिम्रिक एयरसँगको सहकार्यमा छ महिनासम्मका लागि बैंकका क्रेडिट कार्डमार्फत मासिक ३ हजार ४ सय रुपैयाँको किस्ताबन्दीमा गोसाइँकुण्ड भ्रमणको प्याकेज उपलब्ध गराएको छ । छुट योजनामा बैंकको भिजा, डेबिट, तथा मास्टर डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत अर्थात् ३ हजार ४ सय रुपैयाँसम्म क्यास ब्याक हुने बैंकले बताएको छ । 

अर्थ वाणिज्य

सकियो 'फ्रिडम थ्रो एजुकेसन'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राउन्ड टेबल नेपाल (छाता संगठन) अन्तर्गत वीरगन्ज फ्रेन्ड्स राउन्ड टेबल ८ ले गत शनिबार ‘फ्रिडम थ्रो एजुकेसन’ सम्पन्न गरेको छ । शक्ति गोल्ड टीएमटीको प्रायोजकमा उक्त साहित्यिक कार्यक्रम समापन भएको आयोजकले जनाएको छ ।

अर्थ वाणिज्य

एभरेस्टका ग्राहकलाई सोल्टीमा १० प्रतिशत छुट

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एभरेस्ट बैंकका ग्राहकले सोल्टी क्राउन प्लाजामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र सोल्टीबीच बुधबार छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेफालगन्जमा अवस्थित सोल्टी वेस्टइन्डमा बैंकको डेबिट र त्रेडिट कार्डको प्रयोगमा ग्राहकले उक्त छुट प्राप्त गर्नेछन् । 

अर्थ वाणिज्य

वाणिज्यको चाइल्ड हेल्थलाई ५० लाख सहयोग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रिय वाणिज्य बैंकले बुधबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माणका लागि सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष भगवान् कोइरालाबीच सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले चेक किओचका संस्थापक अध्यक्ष कोइरालालाई हस्तान्तरण गरे । 

अर्थ वाणिज्य

सीएनआईको वरिष्ठ उपाध्यक्षमा अग्रवाल मनोनीत

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार अग्रवाल मनोनीत भएका छन् । सीएनआईको गभर्निङ काउन्सिल र पदाधिकारी समितिको बैठकले अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको हो । अग्रवाल सीएनआईको उपाध्यक्षमा कार्यरत थिए । 

अर्थ वाणिज्य

चेम्बर–टर्किस सहकार्य

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल चेम्बर अफ कमर्स र टर्किस एयरलाइन्सबीच बुधबार चेम्बरका सदस्यलाई उडानमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि चेम्बरसँग आबद्ध सदस्यले इकोनमी क्लासमा ७ प्रतिशत र बिजनेस क्लासमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यो छुट प्रवर्द्धनात्मक प्रस्ताव र कोड सेयर उडानमा लागू नहुने चेम्बरले बताएको छ ।

अर्थ वाणिज्य

नेपाल स्टारको प्रायोजकमा वाईवाई

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सांगीतिक रियालिटी सो नेपाल स्टारलाई वाईवाईले प्रायोजन गर्ने भएको छ । गत आइतबार कि इन्टरटेन्टमेन्ट एन्ड रिसर्च प्रालिका प्रमुख रवीन्द्र कुमार रिजाल र वाईवाईको तर्फबाट चौधरी ग्रूपका म्यानेजर निर्वाण चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

Page 13
अर्थ वाणिज्य

माछापालनमा १५ करोड

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– प्रदेशलाई माछामा आत्मनिर्भर बनाउन वाग्मती प्रदेशले बृहत् मत्स्य विकास कार्यक्रमअन्तर्गत चालु आवमा १५ करोड रुपैयाँ खर्चिने भएको छ । सामान्य माछापालनका लागि ७ करोड र रेन्बो ट्राउट माछाका लागि ८ करोड रुपैयाँ गरी किसानलाई १५ करोड रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।
चितवन माडी नगरपालिका–९ स्थित एकीकृत कृषि वन विकास प्रालिले पशुपन्छी तथा मत्स्य विकास मन्त्रालय हेटौंडाबाट १ करोड ४४ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । कम्पनीले चार दशकदेखि माडीमा माछापालन गर्दै आएको छ ।
गत वर्ष १० हेक्टर जमिनमा ३० वटा पोखरी बनाएर माछापालन गरेको थियो । यो कम्पनीले भुरा माछा पनि उत्पादन गरेर किसानलाई उपलब्ध गराउँदै आएको छ । ‘पाल्ने उद्देश्यले भुरा माछासहित बिक्रीका लागि ठूला माछा पनि पालन गर्ने गरेका छौं,’ कम्पनीका प्रमुख सुरेश प्रसाईंले भने, ‘यस वर्ष प्रदेश सरकारको अनुदानसमेत पाउने भएकाले माछापालनलाई विस्तार गरेका छौं ।’ यस वर्ष ३० हेक्टर जमिनमा माछापालन गर्ने योजना बनाएका उनले थप २५ वटा ठूला पोखरी निर्माण गरिरहेका छन् ।
प्रदेश सरकारले एक हेक्टर जमिनमा माछापोखरी खन्न ४ लाख रुपैयाँ अनुदान दिने गरेको छ । पानी निकासका लागि डिप बोरिङ गर्न र उपकरण खरिद गर्न ८० हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ ।

अर्थ वाणिज्य

'कम्प्रेसर' नहुँदा कर्णाली करिडोरको रोकियो काम

आयोजनाले हेलिकप्टरमार्फत दुई वटा कम्प्रेसर मेसिन ढुवानी गर्न भन्दै नेपाली सेनाको खातामा १८ लाख रुपैयाँ पठाइसकेको छ तर सेनाले मेसिन पठाएको छैन
- कान्तिपुर संवाददाता

(काठमाडौं) - उत्तर–दक्षिण (कर्णाली कोरिडोर) लोकमार्गमा कम्प्रेसर (विस्फोटक पदार्थ राख्न प्वाल पार्ने) मेसिन सम्बन्धित ठाउँमा नपुग्दा भीर छेड्ने काम अघि बढ्न सकेको छैन । आयोजनाले गत कात्तिकमा दुई वटा कम्प्रेसर मेसिन हेलिकप्टरमार्फत ढुवानी गर्न भन्दै नेपाली सेनाको खातामा १८ लाख रुपैयाँ पठाएको थियो । तर सेनाले मेसिन पठाएको छैन ।
‘दुई महिनादेखि ताकेता गर्दै आएका छौं,’ आयोजना प्रमुख शशांक मिश्रले भने । सडकखण्डको सबैभन्दा अप्ठ्यारो भागमध्ये छारे भीर प्रमुख हो । उक्त स्थानमा आफैंले कम्प्रेसर लिएर जान सक्ने अवस्था छैन । ‘गाडी जाँदैन, भीर सडकको बीच खण्डमा पर्छ,’ उनले भने, ‘त्यसैले हेलिकप्टरमा लैजानुको विकल्प छैन ।’ उक्त भीर सिमकोबाट ४० किमि दूरीमा पर्छ । ‘भीर साढे चार सय मिटर मात्र हो,’ उनले भने, ‘तर समयमै कम्प्रेसर नआउँदा समस्या भएको हो ।’
अहिले चिसोले गर्दा समस्या छ । तापक्रम सामान्य अवस्थामा आउनेबित्तिकै प्वाल पारेर ब्लास्टिङ गर्न सकिने मिश्रले बताए । ‘बीचको भीर फोर्न सके दुईतिरबाटै सडक निर्माणको काम हुने थियो,’ उनले भने । ०७२ सालमा ब्लास्टिङ मेटेरियल ल्याएर काम सुरु गरिएको हो । दोस्रो लट असारमा माग गरे पनि पुसमा मात्र पाइएको उनको भनाइ छ । विस्फोटनमा सेनाबिना काम हुँदैन । विस्फोटको समयमा मेजर र क्याप्टेनमध्ये एक जना अनिवार्य उपस्थित हुनुपर्छ । ‘हामीले भीर, पहाड फोर्न प्वाल पारेर विस्फोटक पदार्थ राखिसकेका हुन्छौं,’ उनले भने, ‘तर सेनाले तालिका दिने र त्यहीअनुसार विस्फोटको काम गर्नुपर्ने भएकाले निर्माणमा ढिलाइ भएको छ ।’ तत्काल विस्फोटक पदार्थ राख्नेबित्तिकै काम नहुने उनको गुनासो छ ।
विस्फोट गर्ने स्थानको सुरक्षा गर्ने गरी ११ जना सेनाको टोली जान्छ । ट्र्याक खुलेको सडकमा अपग्रेड गर्न ब्लास्टिङका काम हुने गरेको छ । ‘कुनै ठाउँमा घुम्ती सुधार गर्नका लागि ब्लास्टिङको आवश्यकता परिरहेको छ, कतै डाँडा पहरो मिलाउन पनि विस्फोट गराउनुपरेको छ,’ उनले भने । सेना आफैंले काम गर्दा काम हुन्छ हुने ठाउँमै क्याम्प राखेर ब्लास्टिङ गर्ने गरेको छ । ‘कम्प्रेसर किनेर काठमाडौंमा राखिएको छ, योबिना कामै हुँदैन,’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘लैजानलाई हामीसँग हेलिकप्टर छैन, त्यसैले सेनालाई भनेका हौं ।’ विस्फोटक पदार्थ नभई सेनाका कारण करिडोर निर्माणमा ढिलाइ भएको उनले दाबी गरे ।
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको गौरवका आयोजनाको विवरणमा उक्त लोकमार्गको मुख्य समस्या छारे भीर छेड्न नसक्नु छ । आयोजनाअन्तर्गत खुलालु–सिमिकोट (हुम्ला) खण्डमा करिब १ सय ९६ किमि र हिल्सा–सिमिकोट खण्डमा ९५ किमि सडक निर्माण गर्ने लक्ष्य छ । करिडोर निर्माण आव ०६५/६६ बाट सुरु भई ०७०/७१ मा सम्पन्न गर्ने लक्ष्य थियो । अहिले ०७९/८० भित्र सम्पन्न हुने गरी म्याद थपिएको छ । अहिलेसम्म यसको भौतिक प्रगति भने २० प्रतिशत मात्र छ ।
कुल सडकमध्ये सडक विभागअन्तर्गत १ सय ४६ र सेनाले १ सय २३ किमि सडक निर्माण गरिरहेको छ । यसमा सडक विभागबाट १७ र सेनाबाट ९ किमि ट्र्याक खुल्न बाँकी छ । आयोजनाको कुल लागत ४ अर्ब १० करोड हो । ‘खुलालु–सिमिकोट (हुम्ला) खण्डमा सुरुमा १ सय ९६ किमि सडक भनिएको थियो, पछि काम गर्दै जाँदा १ सय २३ किमि कायम भयो,’ कर्णाली करिडोर खुलालु–सिमिकोट (हुम्ला) आयोजना कार्यदलका प्रमुख मेजर मिलन कार्कीले भने, ‘जसमा सेनाले लिएको सडकमध्ये १ सय १४ किमिको ट्र्याक खुलिसकेको छ ।’ कम्प्रेसर ढुवानीका लागि हेलिकप्टर माग भएको र माथिल्लो निकायमै कुरा पुगेको जानकारी पाएको उनको भनाइ छ ।
आयोजनाअन्तर्गत खुलालु–लैफु–सिमिकोट खण्डमा १ सय ६ किमि ट्र्याक खुलेको छ । जितेगडादेखि लेब्डेसम्म ७६ किमिमा यातायात सञ्चालनमा आएको आयोजनाले जनाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार आव ०७६/७७ मा ७० करोड विनियोजन भएकामा ४० करोड ९७ लाख खर्च भएको छ । समीक्षा अवधिसम्म खर्च प्रतिशत ५८ दशमलव ५ छ । हेलिकप्टर आउन अझै डेढ महिना लाग्ने सूचना भएको आयोजना प्रमुख मिश्र बताए । यता सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने हेलिकप्टरका लागि स्विकृत भएर प्रक्रियामा गइसकेको जानकारी दिए ।

अर्थ वाणिज्य

मुआब्जा माग्दै आन्दोलन

- कान्तिपुर संवाददाता

(संखुवासभा) - अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समिति’ ले मुआब्जा माग गर्दै आन्दोलन गर्ने भएको छ । समितिले बुधबार जारी गरेको विज्ञप्तिमा फागुन १४ गतेदेखि शान्तिपूर्ण बन्द आह्वान गर्ने र सोही दिनबाट छ्याङ्कुटीमा नाका बन्द गर्ने उल्लेख गरिएको छ ।
फागुन १५ बाट पावरहाउसको काम बन्द गर्न धर्ना कार्यक्रम सञ्चालन गर्ने र १६ गतेदेखि माग पूरा नभएसम्म छ्याङ्कुटी सडक खण्ड पूर्ण रूपमा बन्द गर्ने संघर्ष समितिका संयोजक जनीकुमार राईले जानकारी दिए । सर्वोच्च अदालतले विभिन्न मितिमा सार्वजनिक प्रयोजनका लागि व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहण गर्दा पहिले उचित मुआब्जा तथा क्षतिपूर्ति अनिवार्य दिनुपर्ने फैसला गरिसकेको भए पनि नपाएको उनको भनाइ छ ।
‘२०७६ असोज १० गते लगानी बोर्डमा बुझाएको प्रतिवेदन कार्यान्वयन गरिएको छैन,’ उनले भने, ‘विगत १० वर्षदेखि बिनामुआब्जा पैतृक सम्पत्ति, थातथलो गुमाएर हामीलाई सुकुम्बासी बनाइएको छ ।’ आयोजना निर्माणकर्ता एसजेभीएनले ३० प्रतिशतभन्दा बढी भौतिक निर्माण सकिसकेको जनाएको छ ।

अर्थ वाणिज्य

काबेली 'ए' अलपत्र

- आनन्द गौतम

(अमरपुर, पाँचथर) - लगातार काम भएको भए ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदीबाट यसै वर्ष बिजुली उत्पादन हुन्थ्यो । मुलुकको विद्युत् आपूर्तिमा योगदान पुग्थ्यो । रोजगारी पनि सिर्जना हुन्थ्यो कि भनेर स्थानीय आशावादी थिए । तर विश्व बैंकको समेत लगानीमा निर्माण सुरु भएको आयोजना एक वर्षदेखि अलपत्र छ । निर्माणस्थलमा झार उम्रन थालेको छ । जडित सामानमा खिया लाग्न थालेको छ । आयोजना स्थलमा ‘रुँगालो’ राखेर गेट लगाइएको छ । ‘हामी राति र दिउँसो पालो मिलाएर रुङ्छौं,’ अलपत्र आयोजना रुँगेर बसेका एक युवकले भने, ‘बन्छ बन्दैन, कहिलेदेखि बन्छ भन्ने हामीलाई थाहा छैन ।’
स्थानीयले पछिल्लो पटक आयोजना सञ्चालनका लागि आफ्नो तर्फबाट सहयोग पुर्‍याए । सहयोगका लागि समिति नै गठन गरे । आयोजनाको निर्माण तथा पावर हाउस क्षेत्रमा जाने सडकका लागि जग्गा उपलब्ध गराए । सरकारका नाममा आफ्नो जग्गा रजिस्ट्रेसन पनि गरिदिए । अहिले आयोजनाका विषयमा आयोजना स्थलमा रहेका कर्मचारीलाई नबोल्न भनिएको छ । फोटो खिच्न पनि नपाउने नियम राखिएको छ । ११ सय मिटर सुरुङ निर्माणपछि आयोजना बन्द भएको छ । ट्यांकीतर्फ नौ सय र पावरहाउसतर्फ दुई सय मिटर सुरुङ निर्माण गरिएको छ ।
चीनको सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार चेचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीलाई कामको जिम्मेवारी दिइएको थियो । ठेकेदार कम्पनीसँगको विवादका कारण आयोजना निर्माण ठप्प बनेको स्थानीय कर्मचारीको बुझाइ छ । चिनियाँ ठेकेदारसँगको सम्झौता रद्द भइसकेको प्रवर्द्धक काबेली इनर्जी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेरसिंह भाट बताउँछन् । आयोजना पुनः कहिले सुरु हुन्छ भन्ने विषयमा उनले पनि केही खुलाएनन् । ‘कम्पनीको आन्तरिक वा बाह्य कारण हो, तपाईंलाई भन्न मिल्दैन,’ उनले भने, ‘ठेकेदारको ठेक्का तोडियो, नयाँ ठेक्का लागेको छैन ।’
ठेक्का रद्द भएपछि यहाँका ट्रिपरलगायतका उपकरण मध्य तमोर जलविद्युत् आयोजनामा लगिएको छ । मध्य तमोरको काम पनि चिनियाँ ठेकेदारबाट भइरहेको छ । ८० जनासम्म जनशक्ति ल्याएर काम गरेको चिनियाँ ठेकेदारले आफ्ना जनशक्ति फर्काएपछि उपकरण पनि त्यहाँबाट निकालेको हो ।
आयोजनास्थलमा अहिले जडित क्रसर, एक्स्काभेटर मेसिनलगायत उपकरण छन् । गिट्टी बालुवा भने ठूलो परिमाणमा पाखामा निकालेर थुपारिएको छ । आयोजनाले ३७.६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य थियो ।

Page 14
समाचार

क्षयरोग छेक्न नयाँ रणनीति

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– क्षयरोग नियन्त्रण गर्न सरकारले नयाँ रणनीति २०२१–२०२५ बनाउने तयारी थालेको छ । सन् २०५० सम्ममा नेपालबाट क्षयरोग अन्त्य गर्ने लक्ष्य प्राप्तिका लागि नयाँ रणनीति बनाइन लागेको हो । ‘पुराना रणनीति र योजनामा काम गरेर क्षयरोग घट्ने स्थिति छैन, त्यसैले नयाँ ढंगबाट जान खोजेका हौं,’ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सागरकुमार राजभण्डारीले भने ।
निर्देशक डा. राजभण्डारीका अनुसार लक्ष्य प्राप्तिका लागि प्रत्येक वर्ष क्षयरोगका बिरामी ५ प्रतिशतका दरले घट्नुपर्ने भए पनि अहिले ३ प्रतिशतका दरले मात्रै घटिरहेको छ । विश्व स्वास्थ्य संगठनको अनुमानमा नेपालमा बर्सेनि ४५ हजार क्षयरोगका बिरामी थपिन्छन् । सरकारले ४५ हजार बिरामीलाई आधार मानेर रणनीति र योजना बनाउने गरेको थियो । डा. राजभण्डारीका अनुसार नेपालमा बर्सेनि ७० हजार नयाँ बिरामी थपिइरहेका छन् । ‘४५ हजारको हिसाबमा तय गरिएको बजेट र जनशक्ति र भौतिक संरचनाले अब पुग्दैन,’ उनले भने ।
नयाँ रणनीति बनाउन केन्द्रका विज्ञ टोलीले सातै प्रदेश पुगेर नीति निर्माण तहका व्यक्ति, कार्यान्वयन गर्ने निकाय, चिकित्सक र समुदाय, अस्पताल र जेलमा बसेका क्षयरोगका बिरामीसँग भेटेर छलफल गरिसकेको छ ।
क्षयरोगप्रति सामाजिक विभेद हट्न नसक्नु मुख्य चुनौती रहेकाले अब उपचारात्मकभन्दा सामुदायिक काम बढी गर्नुपर्ने डा. राजभण्डारीले बताए । अब बिरामीले स्वास्थ्यकर्मी खोज्नेभन्दा पनि स्वास्थ्यकर्मी नै घरमा पुगेर बिरामी खोज्ने खालको नीति लिएर काम गर्ने उनले बताए ।
केन्द्रका क्षयरोग विशेषज्ञ डा. सुवेश श्रेष्ठका अनुसार समुदायका बिरामी बढिरहे पनि नजिकका स्वास्थ्य संस्थामा रोग पत्ता लगाउने उपकरण र औषधि पर्याप्त छैनन् । ‘प्राथमिक स्वास्थ्य संस्थासम्म खकार र रगत जाँच गर्ने ल्याब र जिनएक्सपर्ट पुग्न आवश्यक छ,’ उनले भने, ‘२० प्रतिशत बिरामीले निजी अस्पताल र क्लिनिकमा रुमल्लिएर सही
उपचार गरेका छैनन्, निजीसँग पनि समन्वय हुने खालको रणनीति बनाउने हाम्रो तयारी छ ।’ उनका अनुसार बिरामी पत्ता लागे पनि पूर्ण उपचार
गर्दैनन्, ती बीचैमा हराउँछन् । केन्द्रका अनुसार अहिले २८ प्रतिशत अर्थात् १२ हजार बिरामी हराइरहेका छन् । क्षयरोबाट बर्सेनि सात हजारले ज्यान गुमाइरहेका छन् ।

समाचार

'ओली सरकार असफल'

- कान्तिपुर संवाददाता

जनकपुर (कास)– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको बताएका छन् । जनकपुरमा बुधबार आयोजित पार्टीको प्रदेशस्तरीय भेलामा उनले सरकारको कामबाट जनता निराश बनेको बताए । ‘सरकारले जनताको कुनै पनि अपेक्षा पूरा गर्न सकेको छैन,’ उनले भने, ‘मुलुकमा भ्रष्टाचार र महँगी बढेको छ ।’ 

समाचार

दुई जना सचिवमा बढुवा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सरकारले दुई जना वरिष्ठ सहसचिवलाई सचिवलाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सामान्य प्रशासन समूहका टेकनारायण पाण्डे र इन्जिनियरिङ समूहका रामकृष्ण सापकोटालाई सचिवमा पदोन्नति गरेको हो । पाण्डेलाई कर्णाली प्रदेशको प्रमुख सचिवमा र सापकोटालाई नेपाल ट्रस्टको सचिवमा पदस्थापनसमेत गरिएको छ । मन्त्रिपरिषद्ले कर्णाली प्रदेशका प्रमुख सचिव केवल भण्डारीलाई राष्ट्रिय योजना आयोगको सचिवमा सरुवा गरेको छ । योजना आयोगका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

Page 15
खेलकुद

सरस्वतीका कप्तानलाई प्रतिबन्ध

हिमालयन शेर्पा र सरस्वतीको प्रतिस्पर्धा ।
- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा खेल मिलेमतो गरेको प्रमाणित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेलिगेसनमा परेको सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठलाई २ वर्षको प्रतिबन्ध लगाएको छ । साथै उनले ५० हजार जरिवाना पनि बुझाउनुपर्नेछ । दीपेशसँगै हिमालयन शेर्पाका म्यानेजर विजेन्द्र पुडासैनी र गोलकिपर प्रशिक्षक मीनबहादुर बस्नेतलाई पनि कारबाही गरिएको छ । फागुन २ मा बसेको
एन्फा अनुशासन समितिको बैठकले गरेको निर्णयअनुसार पत्र सम्बन्धित व्यक्तिलाई मंगलबार प्रदान गरिएको थियो ।
दीपेशले २ वर्षसम्म फिफा, एएफसी र एन्फाको मान्यता पाएका फुटबल गतिविधिमा सहभागी हुन पाउने छैनन् । म्यानेजर पुडासैनीले यस्तै प्रकारको प्रतिबन्ध ३ महिना झेल्नुपर्नेछ । गोलकिपर प्रशिक्षक बस्नेतलाई कडा चेतावनी दिएर छाडिएको छ । माघ १४ गते एन्फा मैदान सातदोबाटोमा हिमालयन शेर्पाविरुद्धको खेलमा सरस्वतीका कप्तान दीपेश मिलेमतोको प्रस्ताव गरेको प्रमाणित भएपछि कारबाहीमा परेका हुन् । त्यस खेलमा सरस्वती ४–३ गोलले विजयी भएको थियो ।
एन्फाका प्रवक्ता किरण राईका अनुसार सम्बन्धित क्लबको उजुरीका आधारमा संघले छानबिन गर्दा आरोप पुष्टि भएको हो । मिलेमतोको पूर्वसूचना पाएर पनि लुकाउने प्रयास गरेका कारण हिमालयन शेर्पाका म्यानेजर पुडासैनीलाई ३० हजार रुपैयाँ जरिवानाको पनि निर्णय भएको छ ।
दीपेशले मिलेमतोका लागि शेर्पाका गोलरक्षक किशोर गिरीलाई प्रस्ताव गरेका थिए । उनले प्रस्ताव अस्वीकार गरी टिम म्यानेजरलाई तत्कालै जानकारी गराएको प्रमाणित भएको प्रवक्ता
राईले बताए । त्यसैले किशोरलाई कुनै कारबाही गरिएको छैन ।
मंसिर २८ देखि फागुन ३ सम्म काठमाडौंमा सञ्चालिन ‘ए’ डिभिजन लिगमा सरस्वती रेलिगेसनमा परेको थियो भने शेर्पाले दसौं स्थानमा रहेर लिग अन्त्य गरेको थियो । यसपल्ट मछिन्द्रले लिगको उपाधि जितेको हो । खेल मिलेमतो प्रमाणित भएर एन्फाले कारबाही प्रक्रिया अगाडि बढाएको सम्भवतः यो पहिलो हो ।

खेलकुद

बायर्नसँग चेल्सी स्तब्ध

च्याम्पियन्स लिग
- एएफपी
च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध तेस्रो गोल गरेपछि खुसी साट्दै रोबर्टो लेवान्डोस्की (बायाँ) सहित बायर्न म्युनिखका खेलाडी । तस्बिर ः एपी

 (लन्डन) - सर्ज जनर्बीले बायर्न म्युनिखलाई मंगलबार राति युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको संघारमा पुर्‍याएका छन् । उनको दुई गोल मदतमा बायर्नले स्टानफोर्ड ब्रिजमा भएको अन्तिम १६ पहिलो लेगमा चेल्सीलाई ३–० ले हरायो । गत सिजन बायर्नले टोटेनहमलाई ७–२ ले हराउँदा पनि यी जर्मन खेलाडीले ४ गोल गरेका थिए । पूर्व आर्सनल खेलाडी फेरि एकपल्ट लन्डन भूमिमा नायक साबित भए । आर्सनलमा छँदा असफल रहेका जनर्बीलाई ऋणमा वेस्ट ब्रोम समेत पठाइएको थियो ।
तर बायर्न गएयता यी २४ वर्षीय विङ्गरले पुनर्जीवन पाएका छन् । घरमै बेहारेको स्तब्धपूर्ण हारले चेल्सी भने प्रतियोगिताबाट बाहिरिने निश्चित स्थितिमा पुगेको छ । चेल्सीविरुद्ध जनर्बीले तीन मिनेट अन्तरमा दुई गोल गरे । बायर्नको तेस्रो गोल रोबर्टो लेवान्डोस्कीको नाममा रह्यो । खेलको ८३ औं मिनेटमा डिफेन्डर मार्कोस अलोन्सोले रातो कार्ड खाए । चेल्सी १० खेलाडीमा सीमित रहेको थियो । अब दोस्रो लेगको खेल मार्च १८ मा म्युनिखमा हुनेछ । त्यसमा फर्कन चेल्सीले चमत्कारी प्रदर्शन गर्नुपर्नेछ ।
सन् २०१२ मा एलिनाज एरिनामा भएको च्याम्पियन्स लिग फाइनलमा चेल्सीले बायर्नलाई नै हराएर उपाधि जितेको थियो । यसपल्ट जितको नायक जनर्बीले खेलपछि भने, ‘लन्डनमा मेरो धेरै साथी छन् र तिनीहरू सबैले आज मेरो खेल दर्शकदीर्घाबाट हेरिरहेका थिए । हामीले तीन गोल गर्न सक्यौं र यसले टिमलाई धेरै आत्मविश्वास दिनेछ । तर हामीले अझै दोस्रो लेग खेल्नु छ र त्यसअघि आजको जितमा धेरै खुसी हुनुपर्ने छैन ।’
उनको तर्क थियो, ‘गत सिजन लिभरपुलले तीन गोलले पछाडि रहेको स्थिति उल्टाएको थियो, त्यसैले बायर्नसामु दोस्रो लेगमा गम्भीर भएर खेल्नुबाहेक अर्को विकल्प छैन । पूर्व प्रशिक्षक निको कोभिच बर्खास्तगीमा परेयता बार्यनले लय समातेको छ र राम्रो प्रदर्शन गरिरहेको छ । यसअघिका ६ विजेताले समूह चरणका सबै खेल जित्ने नसकेको स्थितिमा पाँचपल्टको विजेता बायर्नले त्यो अपवाद तोडेर यसपल्ट उपाधिका लागि प्रयास गर्नेछ ।
नेपोली–बार्सिलोना
नेपोली– एन्टोइन ग्रिजमनको गोल मदतमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा नेपोलीलाई १–१ को बराबरीमा रोकेको छ । खेलले एक घण्टा छुने क्रममा हुँदा फ्रान्सेली खेलाडीले बराबरी गोल गरे । यसअघि ड्रिस मार्टिन्सले गोल गर्दै घरेलु मैदानमा नेपोलीलाई अग्रता दिलाएका थिए । उनले ३० औं मिनेटमा गोल गरे ।
यो उनको क्लबका लागि १ सय २१ औं गोल रह्यो । यसक्रममा उनले क्लबका लागि सर्वाधिक गोल गर्ने मारेक हाम्सिकसँग बराबरी गरेका छन् । मंगलबार रातिको खेलको अन्त्यतिर बार्सिलोना १० खेलाडीमा सीमित रह्यो । आर्टुरो भिडाल दोहोरो पहेँलो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । ‘अन्त्यमा हाम्रो लागि बराबरीको नतिजा राम्रो
रह्यो, किनभने हामीले दोस्रो लेगमा घरमा खेल्नेछौं,’ बार्सिलोना प्रशिक्षक क्विक सेटिनले भने । दोस्रो लेगको खेल नो क्याम्पमा मार्च १८ मा हुनेछ । त्यसबाट बार्सिलोना क्वाटरफाइनल पुग्न
बलियो प्रत्याशी हुनेछ । पहिलो लेग भने दुवै टिमका प्रशिक्षकका लागि च्याम्पियन्स लिगमा डेब्यु रह्यो ।
सेटिनले जस्तै नेपोलीका प्रशिक्षक जेनारो गाटुसोले पनि च्याम्पियन्स लिगका समूह चरणपछि मात्र क्लब हेर्न सुरु गरेका थिए । खेलपछि गाटुसोले भने, ‘हाम्रा लागि केही पनि बिग्रेको छैन । खाली उनीहरू हामीमाथि दबाब पनि कायम राख्न सफल भए । खेलको एक मोडमा हामी चुक्यौं र उनीहरूले गोल गर्दै हामीलाई सजाय दिए ।’ नेपोली कप्तान लोरेन्जो इसिग्नेले भने खेल जित्नुपर्ने स्थितिले बराबरीमा चित्त बुझाउनु निराशाजनक रहेको प्रतिक्रिया दिए ।

खेलकुद

थ्रीस्टार विजयी

- मोहन बुढाऐर
थ्रीस्टारका रुपेश केसी र जनजागृतिका आशलाल चौधरी एयर बलमा जुध्दै ।

(धनगढी) - थ्रीस्टार क्लबले बुधबार नेपाल आइस चौथो खप्तड गोल्डकप फुटबलको बुधबार जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको छ । धनगढी रंगशालामा सिमराको नव जनजागृति क्लबविरुद्धको क्वाटरफाइनलमा जित हात पार्दै थ्रीस्टार अन्तिम चारमा पुग्यो । पहिलो चरणमा वाइ पाएको थ्रीस्टारले २–० को नतिजा निकाल्यो । ललितपुरे क्लब थ्रीस्टारको जितमा संजोग राई र आशिष राईले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्रीस्टारले दुई गोल गर्‍यो ।
खेलको ८० औं मिनेटमा निशान खड्काको पासमा संजोगले हेड गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा आशिषले गोल गरेर थ्रीस्टारको जित सुनिश्चित गरे । आशिषले पनि निशान खड्काकै पास सदुपयोग गरे । खेलको म्यान अफ द म्याच थ्रीस्टारका कप्तान विक्रम लामा चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टीमले सोचेभन्दा राम्रो खेलेका कारण सुरुमा गोल हुन गाह्रो भएको बताए । ‘हामीले जति सोचेका थियौं त्यो भन्दा पनि राम्रो खेल्यौं,’ उनले भने, ‘त्यही भएर हामीलाई स्कोर निकाल्न गाह्रो भयो ।’
नव जनजागृतिका प्रशिक्षक सोनु क्षेत्री भने ए डिभिजन टिमलाई कडा टक्कर दिन सकेकोमा सन्तुष्ट भएको बताए । ‘अघिल्लो खेलमा ४–० को जितले मनोबल उच्च भएको थियो । टप कम्पिटिसन म्याचमा पछि तालमेल मिलेन र गोल गर्न सकिएन,’ उनले भने, ‘अन्तिम १० मिनेटमा सम्हालिन सकेनौं । पहिलो हाफ जस्तो राम्रो खेल दोस्रो हाफमा खेल्न सकेनौ ।’ थ्रीस्टारले फाइनल पुग्नका लागि हिमालयन शेर्पा र गोर्खा ब्वाइज क्लब रूपन्देहीबीचको विजेतासँग खेल्नेछ । बिहीबार नेपाल पुलिस र एपीएफ क्लब भिड्ने छन् ।

खेलकुद

मनाङ फाइनलमा

बुढासुब्बा गोल्डकपमा बुधबार म्यान अफ द म्याच भएका यूकेएफसीका आशिष देवान ।

(सुनसरी) - मनाङ मर्स्याङ्दी क्लब धरान रंगशालामा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबलको फाइनलमा नजिक पुगेको छ । मनाङले दार्जिलिङको युनाइटेड कर्स्याङ फुटबल क्लब (यूकेएफसी) लाई २–० ले पराजित गर्दै उपाधि दाबेदारिता देखाएको हो ।
विजेता मनाङले अब फाइनलमा विभागीय टोली नेपाल पुलिस र मछिन्द्रबीचको विजेतासँग भिड्ने छ । मनाङका लागि विमल राना र म्यान अफ द म्याच दयानन्द सिंहले गोल गरेका थिए । विमलले खेलको १९ औं मिनेटमा कमल श्रेष्ठले गरेको कर्नर प्रहार सदुपयोग गर्दै हेडमार्फत गोल गरेका थिए । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो भएका मनाङबाट दोस्रो गोल इन्ज्युरी समयमा दयानन्दले गरेका थिए ।
उनले रन्जन विष्टको पासमा गोल गरे । मनाङले पहिलो हाफको अन्तिम समयमा अन्जन विष्टले पेनाल्टी एरियामा सशक्त प्रहार गरे तर युकेएफसीका कप्तान विरेन प्रधानले गोल हुनबाट बचाए । खेलको ४८ औं मिनेटमा निशान लिम्बुको अर्को प्रहार गोलकिपर राज बर्मनले कठिनसँग जोगाए । ६० औं मिनेटमा दयानन्दको पासमा अन्जन विष्टको हेड बाहिरिएको थियो । कोनेकोराको पासमा ६४ औं मिनेट बित्दा रेजिन सुब्बाले वान भर्सेज वान अवस्थामा प्रहार गरेको बल बाहिरियो । किपर बिट भएर अगाडि बढेको बेला गोल गर्ने अवसर पाए पनि ८० औं मिनेटमा निशान लिम्बुको प्रहार बाहिरियो । लगत्तै दयानन्दले गरेको प्रहार गोलकिपर वर्मनले पन्च गरेर बचाए ।
रोमान्चक प्रतिस्पर्धापूर्ण खेलमा मनाङविरुद्ध पटक–पटक गोल गर्ने अवसर युके एफसीले गुमाउँदा हार्नुपरेको थियो । म्यान अफ द म्याच यूकेएफसीका आशिष देवान घोषित भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे । वेस्ट गोल अफ द डे घोषित मनाङका दयानन्द सिंहले ५ हजार हात पारे ।

खेलकुद

पारसलाई महिन्द्राको कार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई व्यापारिक घराना अग्नि ग्रुपले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सम्झौताअनुसार पारसले दुई वर्षसम्म अग्नि ग्रुपको ब्रान्ड प्रवर्द्धनसम्बन्धी कार्यमा सरिक हुनुपर्नेछ ।
त्यसबापत अग्निले उनलाई महिन्द्रा एक्सयूभी एसयूभी ३०० कार प्रदान गरेको छ । त्यसका लागि बुधबार पारस र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपाली बजारमा करिब ५० लाख पर्ने यस कारको मूल्यमध्ये आधा रकममात्र अग्निले प्रायोजन गरेको हो । सम्झौतापछि पूर्वकप्तान पारसले महिन्द्रासँगको आफ्नो सम्बन्ध डेढ दशक पुरानो भएको स्मरण गर्दै नयाँ सहकार्यबाट हर्षित भएको बताए ।
‘सन् २००७ मा अग्नि ग्रुप आधिकारिक बिक्रेता रहेको महिन्द्रा मोटरसाइकलको ब्रान्ड प्रवर्द्धक भएको थिएँ । १३–१४ वर्षसम्म यसलाई निरन्तरता दिन पाउँदा गर्व लागेको छ,’ पारसले भने, ‘यस्तो प्रायोजनबाट खेलाडीका रूपमा हामीलाई करिअरमा केन्द्रित हुन सहयोग मिल्नेछ ।’

खेलकुद

हिमालय सफल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेक्सस क्रिकेट एकेडेमीलाई एक इनिङ्स र ६३ रनले पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमी यू–१९ स्तरको दुई दिवसीय हिमालय क्रिकेट लिगको फाइनल पुगेको छ । समूह ‘बी’ बाट २ जितसहित ५० अंकसाथ ग्रेट हिमालय उपाधि नजिक पुगेको हो ।
दोस्रो दिन बुधबार ७ ओभरको खेलपछि नै विजेता छिनोफानो भयो । दोस्रो इनिङ्समा १०९–८ को अवस्थामा दोस्रो दिनको सुरुआत गरेको नेक्ससले ८ रनमात्र थप्न सक्यो ।

खेलकुद

बाँसबारीको नाटकीय जित

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– इन्ज्युरी समयमा २ गोल गर्दै बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लबमाथि ३–२ को नाटकीय जित पाएको छ । सातदोबाटो मैदानमा बुधबार दुई पूर्व ‘ए’ डिभिजन क्लबबीचको भिडन्तमा पहिलो हाफ ब्वाइज युनियनले अग्रता बनाएको हो । २३ औं मिनेटमा कप्तान टंकबहादुर सिङदानले गोल गरे । दोस्रो हाफको सुरुआती १५ मिनेटमा ब्वाइज युनियनले अग्रता दोब्बर बनायो । यसपल्ट अरुण लिम्बुले गोल गरे । तर अन्तिम १६ मिनेटमा बाँसबारी ३ गोल गर्दै ए डिभिजनमा बढुवा हुने लक्ष्यमा एक खुट्किलो अघि बढेको छ । ७९ औं मिनेटमा वैकल्पिक स्ट्राइकर सुलेमान थापामगरले गोल गरे । बाँकी दुई गोल इन्ज्युरी समयमा सम्भव भयो । वैकल्पिक खेलाडी सुरेश कुमालले गोल गरी खेल बराबरीमा ल्याए । ६ मिनेट थप इन्ज्युरी समयको पाँचौं मिनेटमा सजिन थापामगरको गोलसँगै बाँसबारीले नाटकीय जित निकालेको हो । बुधबारै श्री कुमारी क्लबले पनि पुल्चोक स्पोर्टस क्लबमाथि ३–२ को जित रचेको छ । पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफको सुरुमै श्रीकुमारीले अग्रता लियो । पुल्चोकका डिफेन्डर यामबहादुर श्रेष्ठले आत्मघाती गोल गरे । ६५ औं मिनेटमा सेरब लो तामाङले गोल गरी खेल बराबरीमा ल्याए । तर श्रीकुमारीले ४ मिनेटको अन्तरमा २ गोल गोल गर्दा ३–१ को अग्रता बनायो । ७९ औं मिनेटमा कप्तान रुकेश श्रेष्ठ र ८३ औं मिनेटमा मिसन लामाले गोल गरे । इन्ज्युरी समयको अन्तिममा पुल्चोकका सेरबले दोस्रो गोल गरे पनि टिमको हार टार्न सकेनन् ।

खेलकुद

बनस्थली र एलए सेमिफाइनलमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सिद्धार्थ बनस्थली र लिटिल एन्जल्स (एलए) दसौं लोयल्टी कप अन्तरस्कुल जुनियर छात्र फुटबलमा बुधबार सेमिफाइनल पुगेका छन् । सिद्धार्थ वनस्थलीले टीआईएलाई ५–० गोलले पराजित गर्‍यो । विजेताका अनमोल खत्रीले ३ र जेनिश रेग्मीले २ गोल गरे ।  साबिक विजेता एलएले काष्ठमण्डपलाई ८–० ले हरायो । एलएका प्रसुन तुलाधरले ५ र तुसानमान सिंहले ३ गोल गरे । टीआईएका सक्षम डंगोल र काष्ठमण्डपका प्रशान्त लिम्बु म्यान अफ द म्याच चुनिए । वनस्थलीको भेट आयोजक लोयल्टी एकेडेमी ‘बी’ र एलएको टाइमलाइनसँग हुनेछ ।

खेलकुद

रोयल लगातार विजयी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले प्रथम रोयल राष्ट्रव्यापी यू–२३ पुरुष बास्केटबलमा बुधबार लगातार दोस्रो जित हात पारेको छ । जेभियर र टाइम्स पनि विजयी भए । ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले कास्कीलाई ८९–६६ ले पराजित गर्‍यो । रोयलको जितमा निकेश मगरले २५ स्कोर गरे । अनिश मगरको १७ स्कोरमा जेभियरले ह्वाइटहाउसलाई ५९–५० ले हरायो । निर्धारित समयमा ४६–४६ ले बराबरी भयो । ५ मिनेटको अत्तिरिक्त समयमा जेभियरले १३–४ स्कोर जोड्दै जित हात पार्‍यो ।  टाइम्सले गोल्डेनगेटमाथि ७५–६४ को जित दर्ता गर्दा जसमन तामाङले १६ स्कोर गरे ।

Page 16
खेलकुद

लक्ष्य च्याम्पियन

ट्वान्टी–२० एसिया कपको पहिलो खुट्किलोमा विजेता हुने नेपालको लक्ष्य
- कान्तिपुर संवाददाता
एसीसी इस्टर्न रिजनका लागि थाइल्यान्ड जानुअघि नेपाली क्रिकेट टोली । तस्बिर ः कान्तिपुर

(काठमाडौं) - सन् २०२० को सेप्टेम्बरमा पाकिस्तानमा हुने ट्वान्टी–२० एसिया कप क्रिकेटका लागि छनोट चरणको पहिलो खुट्किलोका रूपमा थाइल्यान्डमा हुन लागेको एसीसी इस्टर्न रिजन प्रतियोगिता खेल्न नेपाली टोली बिहीबार त्यसतर्फ जाँदैछ ।
चीनमा महामारीको रूप लिएको र आसपासका देशलाई पनि त्रसित बनाएको कोरोना भाइरसका कारण चीन, भुटान र म्यानमारले नाम फिर्ता लिएपछि प्रतियोगितामा ५ टिमको मात्र सहभागिता रहनेछ । थाइल्यान्ड, मलेसिया, सिंगापुर र हङकङको सहभागिता रहने प्रतियोगितामा नेपालले विजेता बन्ने लक्ष्य लिएको छ । सहभागी अन्य टोलीसँगको पछिल्लो प्रदर्शनअनुसार प्रतियोगितामा नेपाल नै स्वभाविक दाबेदार हो । तर टिमले विपक्षीलाई कमजोर रूपमा नलिने कप्तान ज्ञानेन्द्र मल्लले बताए ।
‘तयारी र टिम सन्तुलन हेर्दा हामी प्रतियोगितामा आशावादी छौं । लक्ष्य च्याम्पियन बन्ने हो,’ बुधबार काठमाडौंमा आयोजित बिदाइपछि कप्तान ज्ञानेन्द्रले भने, ‘हामीलाई थाहा छ कि यो एसिया कपका लागि प्रारम्भिक चरण हो । हाम्रा प्रतिस्पर्धीसँगको यसअघिका नतिजाअनुसार हामीले उनीहरूलाई कमजोर आँक्ने छैनौं । शतप्रतिशत प्रयास गर्नेछौं ।’ इस्टर्न रिजनमा शीर्ष दुई स्थानमा आउने टिमले अगस्टमा मलेसियामा आयोजना हुने एसिया कप छनोट खेल्नेछ । त्यहा वेस्टर्न रिजनका फाइनलिस्ट यूएई र कुवेतसँग खेल्नुपर्नेछ । राउन्ड रोविन लिग प्रणालीमा हुने त्यस प्रतियोगिता विजेता टोलीले सेप्टेम्बरमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । जहाँ एसियाका पाँच टेस्ट मान्यताप्राप्त देश भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान र पाकिस्तान हुनेछन् । भारत एसिया कपको साबिक विजेता हो ।
उमेश पटवालले राजीनामा दिएसँगै जगत टमाटा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीमा फर्किएपछिको यो पहिलो प्रतियोगिता पनि हो । उनले टिममा युवा खेलाडीलाई अधिक विश्वास गरिएको जनाए । ‘तयारी राम्रो भएको छ । युवा प्रतिभाले धेरै अवसर पाएका छन् । कुशल मल्ल, सन्दीप जोरालगायतका युवा खेलाडी ब्याटिङ/बलिङमा मात्र होइन फिल्डिङमा पनि टिमका लागि अहं भूमिकामा हुनेछन्,’ उनले थपे ।
बिदाइमा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेशकुमार सिलवालले पनि एसिया कपमा छनोट हुने गरी उच्च प्रदर्शन गर्न टिमलाई शुभकामना दिए । ‘युवा खेलाडीले प्रतियोगितामा पर्याप्त अवसर पाउनेछन् । सिनियर खेलाडीका लागि पनि आफ्नो लयलाई निरन्तरता दिने चुनौती हुनेछ,’ निर्धारित समयभन्दा पौने १ घण्टा ढिला आएका सिलवालले भने, ‘अर्को वर्षका लागि बजेट पेश गर्ने समयसीमा घर्किसकेकाले त्यसैले तयारीका कारण ढिला भयो । अबको बजेटमा क्रिकेटलाई प्राथमिकतामा राखेर पर्याप्त बजेट विजियोजन गरेको छु ।’
फागुन १७ देखि २३ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल शनिबार मलेसियासँग खेल्नेछ । फागुन १८ मा हङकङ, २१ मा थाइल्यान्ड र २३ मा सिंगापुरसँग खेल्नेछ ।

खेलकुद

आर्मी क्लबलाई राइनो कप

- नारायण शर्मा

(नवलपरासी) - पूर्वी नवलपरासीको कोल्हुवामा भएको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा बुधबार त्रिभुवन आर्मी क्लबले
उपाधि जितेको छ । आर्मीले विभागीय प्रतिदन्द्वी नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेर उपाधि जित्यो ।
आर्मी क्लबका सुदील राईले खेलको पाँचौं मिनेटमै गोल गरेका थिए । त्यही गोलबाट आर्मीले १० लाख रुपैयाँ पुरस्कार जितेको छ । पुलिसले ५ लाख रुपैयाँ हात पार्‍यो । खेलको सुरुदेखि नै आर्मीले पुलिसलाई दबाबमा राखेको थियो । बुधबार म्यान अफ द म्याच आर्मीका सुदील राई भए । उनले ५ हजार रुपैयाँ पुरस्कार पाए । सर्वाधिक गोलकर्ता पुलिस क्लबका बुद्धबल तामाङ थिए । उनले २० हजार हात पारे । म्यान अफ द सिरिजमा सुमन अर्याल पुरस्कृत भए । उनले २० हजार रुपैयाँ पाए ।
मध्यविन्दु नगरपालिका वडा–४ मा रहेको राइनो फुटबल खेल मैदानमा फागुन ५ देखि गैंडा जोगाऔं भन्ने नाराका साथ राइनो गोल्डकप गरिएको थियो । विजेतालाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कृत गरेका थिए । राइनो क्लबद्धारा आयोजित प्रतियोगितामा १० टिमको सहभागिता थियो ।