You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

'भगवान्ले त हेरेनन्, सरकारबाट के आस !'

मुम्बईमा चार वर्षअघि भएको गोदाम आगलागीमा कपिलवस्तुका ७ जनाले ज्यान गुमाएका थिए । उनीहरुका परिवारले नेपाल र भारत दुवैतिरका सरकारबाट राहत त पाउन सकेनन् नै, मुद्दालाई बलियो बनाउन कतैबाट सहयोग नमिल्दा आरोपितले कारबाहीबाट उन्मुक्तिसमेत पाए ।
- कान्तिपुर संवाददाता
राजु र गौरी चौहानका बुबा परसरी र आमा उत्तम । बीचमा राजुका श्रीमती विद्या र छोरा ।तस्बिर ः सुरेशराज/कान्तिपुर

(कपिलवस्तु/नयाँदिल्ली) - कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको सत्भरा गाउँ । गाउँका करिब दुई सय घरमध्ये आधाउधि कच्ची छन् । विकासका न्यूनतम पूर्वाधारको समेत अभाव छ । खेती किसानी यहाँको मुख्य पेसा हो तर खेतीका लागि आकासे पानीको भर पर्नुपर्छ । अधिकांश युवा बेरोजगार छन् । ऋणपान गर्न सक्ने र अलिकति खर्च जुटाउन सक्ने केही युवा मलेसिया र खाडी पुगेका छन् । नसक्नेहरू भारतको मुम्बई जान्छन् ।
चरम गरिबी भए पनि गाउँमा रहेकाहरूको मुहारमा परदेसिएका आफन्तसँग फोनमा हुने कुराकानीले बेलाबखत मुस्कान ल्याउँथ्यो । परदेशबाट आफन्त ढिलोचाँडो खुसी बोकेर घर फर्किन्छन् भन्ने आसमा बाँचेको थियो सिंगो सत्भरा गाउँ ।
२०७२ पुस १३ गते सबेरै मुम्बईबाट आएको फोनले भने यसअघि जस्तो सुखद सन्देश ल्याएन । पुसको ठिहिरोलाई छेड्दै आएको
त्यो सन्देशमा अकल्पनीय दुःख मिसिएको
थियो । त्यसको सार थियो– मुम्बईको भिबन्डीस्थित एउटा कबाडी काठ गोदाममा राति २ बजेतिर एकाएक आगो सल्कियो । त्यतिबेला गोदाममा काठका मुढा ओसार्ने
११ जना मजदुर मस्त निद्रामा थिए । तीमध्ये सात जना नेपाली र एक भारतीय ठाउँको
ठाउँ बिते । उनीहरूको शव चिनिँदैनथ्यो । उनीहरूमध्ये सत्भराका लौटु मोराइन (३० वर्ष), भुइँधर यादव (२७ वर्ष), गौरी चौहान (२७ वर्ष) र राजु चौहान (२५ वर्ष), विक्रम रइदास (१८ वर्ष) तथा कपिलवस्तुकै बराइपुर गाउँका रामदयाल भर (३८) र निरज चौधरी (२१) थिए । यही गाउँका विनोद यादव, धिरु लोनिया र बुधे लोनियाले हाम फालेर ज्यान जोगाए । विनोदको शरीरको आधा भाग जलेको थियो ।
मुम्बईको त्यस आगलागीको ‘लप्का’ केही घण्टामै सयौं किलोमिटर परको सत्भरा र बराइपुर गाउँ पुग्यो । खबर पुग्नासाथ गाउँमा कोलाहल मच्चियो । आफन्त गुमाएकाहरू छाँद हालेर रुन थाले । कर्मास्थित जनता माविका शिक्षक त्रिभुवन गिरी त्यो घटना सम्झिँदै भन्छन्, ‘पूरै गाउँ अचानक के भयो, कसरी भयो भनेर स्तब्ध भयो ।’ घटनाको चार वर्षपछि सत्भरा गाउँ पुग्दा पनि पीडित परिवारको अनुहारबाट शोकको रङ उडिसकेको थिएन ।
शान्ति मोराइनका श्रीमान् लौटु मुम्बई गएको १५ दिन मात्र भएको थियो । उनी धेरथोर कमाइ गरे परिवार सजिलैसँग पाल्न सकिएला भनेर मजदुरी गर्न परदेश हिँडेका साथीभाइको पछि लागेका थिए । अभावमा हुर्किरहेका ससाना छोराछोरीको अनुहार हेरेर शान्तिले श्रीमान्लाई रोक्न सकिनन् ।
घटनाको अघिल्लो दिन राति सुत्ने बेला पनि शान्तिले लौटुसँग खैखबर सोधेकी थिइन् । त्यस दिनको कुरा उनले सुनाइन्, ‘हालखबर राम्रो छ भन्नुभएको थियो, छोराछोरीबारे सोध्नुभएको थियो ।’ अहिले पनि उनलाई घटना सम्झँदा कहाली लाग्छ, पहाडै खसेजस्तो हुन्छ । ‘त्यस्तो हुन्छ भन्ने थाहा पाएको भए किन पठाउँथे होला र ?’ शान्तिले भनिन् ।
शान्ति मृत श्रीमान्को अनुहार हेर्न जान सकिनन् पैसा नभएकाले । मुम्बई गएका छिमेकीले उनका श्रीमान्को दाहसंस्कार उतै गरिदिए । यतिबेला शान्तिलाई साना दुई छोरी कसरी हुर्केलान् भन्ने पिरलोले छोपेको छ ।
श्यामदेव अहिर (यादव) का दुई छोरा भुइँधर र विनोद मुम्बई गएको १० महिनाजति भएको थियो । उनीहरू बेलाबखत घरखर्च पठाउँथे । आगलागी हुनुभन्दा दुई साताअघि मात्र श्यामदेवले छोराहरूसँग फोनमा बात मारेका थिए । उनलाई के थाहा, जेठा छोरासँगको त्यो कुराकानी अन्तिम होला भनेर । भुइँधरले त्यतिबेला फोनमा भनेका थिए, ‘अब केही दुःख नगर्नु, हामी गर्छौं ।’

आगलागीमा परेका श्यामदेवका कान्छा छोरा विनोद उपचारपछि भाउजू र पत्नी लिएर गाउँ फर्के । कान्छा छोरालाई देख्दा श्यामदेवलाई जेठा छोराको सम्झनाले धुरुक्क पार्छ । आमा सोनमतीको अनुहारमा शोकको बाक्लो रङ पोतिएको छ । श्यामदेवलले सोनमतीको अनुहारतिर हेर्दै मधुरो स्वरमा भने, ‘त्यत्रो लक्का जवान छोरो गुमाएको कुरा कसरी बिर्सनु, अब आफैं माटामा मिसिएपछि मात्र बिर्सन्छु ।’
६५ वर्षीय परसरी लौनिहा चौहानको व्यथा श्यामदेवको भन्दा चर्को छ । उनले मुम्बईको आगलागीमा दुई जवान छोरा गुमाए । गाउँलेकै साथ लागेर उनका छोराहरू गौरी र राजु मुम्बई गएको दुई महिना मात्र भएको थियो । घटनाको आठ दिनअघि मात्र उनले दुवै छोरासँग फोनमा कुरा गरेका थिए ।
दुई छोरा बितेको धेरै वर्ष भइसक्दा पनि परसरीले आफूलाई सम्हाल्न सकेका छैनन् । तीन वर्षअघि भित्रिएकी कान्छी बुहारी, सानो नातिको अनुहार देख्दा उनको गह भरिन्छ । गौना नभएकाले जेठी बुहारी घर भित्रिएकी थिइनन् र घटनापछि उनी
माइतीमै बसिन् ।
घटना भएको बिहान उनलाई कसैले सुनाएको थियो, मुम्बईमा आगलागी हुँदा गाउँका आठ जना बिते भनेर । पछि त्यसमा आफ्नै दुई छोरा परेको थाहा पाएपछि उनको होसै गुम्यो । उनी आफैं मुम्बई गए । उनका दुई छोराको शरीर गोदामका काठका मुढा जसरी जलेका थिए । बचेको शरीर पोस्टमार्टम गर्न अस्पतालमा पोको पारेर राखिएको थियो । सुरुमा त उनलाई पोकामा राखिएका छोराहरूको शरीर हेर्न पनि दिइएन ।
आफ्नै छोरा हुन् भनी पुष्टि गर्ने कागजात गाउँबाट मगाएपछि आठौं दिन अन्तिम संस्कार गर्ने बेला मात्र उनले छोराको शव बेरिएका पोका खोल्न पाए । ‘के देख्नु थियो र ? जलेको मुढाजस्तो थियो, पोको पारेर राखेको,’ परसरीले भने ।
उनलाई मुम्बई जान चाहिने खर्च गाउँलेले चन्दा उठाएर दिएका थिए । परसरीको छेउमा बसेकी उनकी श्रीमती उत्तमका आँखाबाट आँसुका भेल बग्दै थिए । उनले घटनाको एक महिनाअघि मात्र छोरासँग कुरा गरेकी थिइन् । ‘आमा, पैसाको चिन्ता नगर्नुस्, राम्ररी खानुस्, आफ्नो ख्याल गर्नुस् ।’ छोराका यी शब्द अहिले पनि उनका कानमा गुन्जिरहन्छन् । ‘के गर्नु र ? गरिबी थियो । नपठाएर पनि नहुने,’ उनले भनिन् ।
उत्तमले त आफ्ना छोराको शव पनि देख्न पाइनन् । उनी अहिले पनि एकान्तमा रुन्छिन् । फेरि आफैंलाई सम्हाल्छिन् । ‘दुःख परेपछि आकासै खस्दोरहेछ,’ उनले भनिन् । लोग्नेलाई सहज होस् भनेर उनी पनि भेटेसम्म मजदुरी गर्छिन् ।
आठ वर्षको नातिको मुख हेरेर चित्त बुझाउनुपर्छ भनेर
परसरी उनलाई सम्झाउँछन् । ‘यही एउटा सहारा छ, नाति,’ उनले भनिन् ।
यति ठूलो विपद भएको चार वर्ष बित्यो । उनीहरूलाई गाउँले र मुम्बईमा बसेका नेपालीबाहेक अरू कसैले सहयोग गरेन । ‘आँसुमै बित्यो चार वर्ष । बाँकी जीवन पनि उनीहरूकै यादमै बित्छ । अरू उपाय केही छैन,’ उनले भनिन् ।
राजुकी श्रीमती विद्या घटनाको दिन माइतीमा थिइन् । राजुसँग अघिल्लो दिन साँझ फोनमा कुरा भएको थियो उनको । राजुले हालचाल सोधेका थिए । हरेक दिन बिहान र साँझ उनीहरूबीच कुराकानी हुन्थ्यो । ‘कमाएर घर बनाउनुपर्छ भन्नुहुन्थ्यो,’ उनले सुनाइन् । अहिले उनी छोराको अनुहार हेरेर मन भुलाउँछिन् । घरको गर्जो टार्न सासू र ससुरा मजदुरी गर्न जान्छन्, उनी घर सम्हालेर बस्छिन् ।
दुःखको मुस्लो सत्भराकै गोमती रइदासको धुरीमाथि पनि मडारिएको थियो । उनका जेठा छोरा विक्रम मुम्बई गएको एक महिना मात्र भएको थियो । उनले एक दिनअघि मात्र आमा राजमतीसँग फोनमा लामो कुराकानी गरेका थिए । त्यस दिन बाबुछोराको कुरा भने हुन पाएन ।
छोरो बितेको खबर पाएपछि गोमती र राजमतीलाई संसारै खसेजस्तो भयो । ‘सुरुमा त विश्वास नै भएन । के गर्ने, जसरी भए पनि मन सम्हाल्नुपर्दोरहेछ,’ उनले भनिन् । छोराको कुरा गर्नासाथ अहिले पनि उनका आखाँबाट आँसुको भेल बग्छ । ‘नौ महिना कोखमा राखेका छोरालाई कसरी बिर्सन सक्छु ?’ उनले गहभरि आँसु पार्दै भनिन्, ‘कसैले समातेर राखेको भए पो खोजेर ल्याऊँ भन्ने हुन्थ्यो । भगवान्ले नै लगेपछि कसको के लाग्यो ।’ बुबा गोमती पनि बेलाबखत छोराको प्रसंग उप्काउँछन् । दुवै जना जेठा छोराको यादमा रुन्छन् । दुई छोरी र कान्छा छोरा भने सानै छन् । ‘छोरो भएको भए यो उमेरमा मैले दुःख गर्नु पर्दैनथ्यो भन्नुहुन्छ,’ राजमतीले भनिन् । आगलागीमा पति लौटु गुमाएकी शान्तिलाई घर चलाउन समस्या भएपछि गाउँलेले चन्दा उठाएर सहयोग गरे । चन्दाको त्यही रकमले किनेको लुगा सिउने मेसिन अहिले उनको गर्जो चलाउने एक मात्र साधन हो ।
७५ वर्षीय श्यामदेवका सामु छोराको शोक त छँदै छ, घाइते कान्छा छोरा विनोदका लागि उपचार गनुपर्ने जिम्मेवारी पनि छ । उनले गाईभैंसी बेचेर, ऋण काढेर तीन लाख खर्चेर छोराको उपचार गरे । उनको सिंचाइ नहुने दुई बिघा खेत छ । ‘सिंचाइबिनाको खेतको के अर्थ ? त्यसबाट वर्ष दिन पुग्ने चामल पनि आउँदैन,’ उनले भने । उनी बुढेसकालमा पनि मजदुरी गर्छन् । चौहान परिवारको अवस्था झन् कारुणिक छ । सम्पत्तिका नाममा खरले छाएको एउटा घर र त्यसले चर्चेको दस कट्ठा खेत मात्र छ । छोराहरूले पठाएको पैसाले पक्की घर बनाउने योजना बनाएका थिए परसरीले । घर बनाउन सुरु गरेका पनि थिए । पर्खाल लगाइएको थियो । दुवै छोरा बितेपछि छानो लगाउने योजना भताभुंग भयो । परसरीको वृद्ध शरीर दिनप्रतिदिन शिथिल बन्दै गएको छ र घरका पर्खाल पनि मक्किन थालेका छन् । एउटा नाति र आफू बूढाबूढीका लागि (६५ वर्ष र ५५ वर्ष) पनि मजदुरी नगरी हुँदैन ।
रइदास परिवारमाथि पनि ऋणको भारी थियो । मुम्बईमा रहेका विक्रम भन्ने गर्थे, ‘आमा, धानचामल नबेच्नू । म कमाएर ऋण तिर्छु ।’ पक्की घर बनाउने सपना पनि सुनाउँथे विक्रम । ‘भगवान्लाई त्यो कुरा मञ्जुर भएन होला, छिनेर लगे,’ आमा राजमतीले भनिन् । घरखर्च चलाउन साहुसँग लिएको ऋण तिर्नु छ । औषधिमुलो गर्न ऋण लिनुपर्छ । त्यही भएर ५५ वर्षको उमेरमा पनि विक्रमका बुबा गोमती बुटवलमा रिक्सा चलाउँछन् । राजमती पनि भ्याएसम्म मजदुरी गर्छिन् ।
िि
िभारत सरकारले घटनापछि गोदामका मालिकविरुद्ध मुद्दा चलाएको थियो । करिब चार वर्षपछि मुम्बईको स्थानीय अदालतले प्रमाण नपुगेको भन्दै आरोपितलाई रिहा गर्ने निर्णय सुनाएको छ । प्रहरीको अनुसन्धानअनुसार सरकारी वकिलले साक्षीहरूलाई उपस्थित गराउन नसकेको र बहसका क्रममा पेस गरिएका दसीप्रमाणको परीक्षण गराउन असमर्थ रहेको भन्दै थाने जिल्लाको सेसन कोर्टले गोदामका सञ्चालक इस्तियाक उस्मान अली अन्सारी, मुनावर अली जंगबहादुर खान र शौकत अली उस्मान अन्सारी तथा गोदाम बनाइएको जमिनका मालिक राजेन्द्र पान्डुरागं माधवीलाई गत ८ अगस्ट २०१९ मा रिहा गर्ने फैसला गरेको हो ।
मुम्बईका प्रवासी नेपालीलाई सुरुदेखि नै मुद्दा कमजोर बनाउलान् कि भन्ने चिन्ता थियो । पीडितका पक्षमा दह्रोसँग उभिदिने कोही नभएकाले र सरकारी वकिलले मुद्दाको बलियो ढंगले पैरवी गर्न नसकेकाले आरोपितका पक्षमा फैसला भएको उनीहरूको भनाइ छ । अदालतको फैसला केलाउने हो भने पनि सरकारी वकिल आरोपितविरुद्ध पेस गरिएका प्रमाणलाई अदालतमा परीक्षण गर्न नियतवश गम्भीर नभएको देखिन्छ । पहिले साक्षी बयान दिएका व्यक्ति र अनुसन्धानमा खटिएका अधिकृतहरूले समेत अदालतमा उपस्थित भएर आफ्नो पहिलेको बयान र प्रतिवेदनको बचाउ गरेका छैनन् । फैसलामा उल्लेख भएका केही प्रसंग निकै अनौठा छन् । जस्तै, सुरुमा घटनास्थल पुगेका र जाहेरी दर्ता गरेका नार्पोली प्रहरीचौकीका प्रहरी निरीक्षक लक्ष्मण भिल्लु राठौडले आगलागीलगत्तै गोदाम सञ्चालकहरू र जग्गाका मालिकसमेत घटनास्थलमा पुगेको उल्लेख गरेका थिए । आरोपपत्रमा उनले गोदाममा अनधिकृत रूपमा बिजुली जोडिएको र व्यवसाय सञ्चालनका लागि सरकारी निकायबाट स्वीकृति नलिएको जनाएका थिए । त्यही आधारमा तीन जना सञ्चालक र जग्गाधनीलाई पक्राउ गरिएको थियो । पछि गरिएको विस्तृत अनुसन्धानमा पनि गोदाम सञ्चालकहरूले सरकारी निकायबाट स्वीकृति नलिएको र सुरक्षाको न्यूनतम मापदण्ड पनि पूरा नगरेको उल्लेख भएको थियो तर अदालतमा उनीहरूले प्रतिवेदनको बचाउ बलियोसँग गरेनन् । साक्षीहरूले पनि बयान फेरे ।
फौजदारी कानुनका विज्ञ सुवास आचार्यका अनुसार चरम लापरबाहीका कारण मानवीय क्षति भएकाले सञ्चालकहरूविरुद्ध ज्यान मुद्दा लगाई उचित क्षतिपूर्ति माग्ने पर्याप्त कानुनी आधार हुँदाहुँदै पनि पीडित पक्षका वकिलको भूमिका कमजोर देखिएको छ । आफैंले तयार पारेको अनुसन्धान प्रतिवेदनको बचाउ गर्न नसक्ने प्रहरी अधिकृतहरूको भूमिकालाई पनि सहज मान्न सकिँदैन । यस सम्बन्धमा घटनाका प्रमुख अनुसन्धान अधिकृत अनिल अकाडेसँग कान्तिपुरले जिज्ञासा राख्दा आफू दुई वर्षअघि नै सेवा निवृत्त भइसकेकाले घटनाबारे केही बताउन नसक्ने बताए । यो अभिव्यक्ति पत्यारिलो लाग्दैन ।
यो घटनाका पीडितलाई न्याय दिलाउन सुरुदेखि नै पहल गरिरहेका मुम्बईमा बस्ने शालिग्राम तिवारीले नेपाली दूतावास पनि गम्भीर नभएको बताए । उनले फोनमा भने, ‘मुद्दा चलाउन कागजात चाहिन्छ भनेर म आफैं गाउँ पुगेँ । केही न केही भए पनि क्षतिपूर्ति पाउनुपर्छ भन्ने थियो ।’ कानुनविद् आचार्य पनि यस प्रसंगमा भारतका लागि नेपाली दूतावास र नेपाल सरकारलाई दोषी देख्छन् । ‘दूतावासले पहिलेदेखि नै चासो देखाएको भए सरकारी वकिलले त्यस्तो कमजोरी गर्ने सम्भावना कम हुन्थ्यो,’ उनले भने ।
मुम्बईका प्रवासी नेपालीले घटनाबारे सुरुदेखि नै दूतावासलाई बताउँदै आएका थिए । मुम्बई प्रहरीले पनि घटनालगत्तै दिल्लीस्थित नेपाली दूतावासलाई औपचारिक रूपमै जानकारी गराएको थियो । त्यसपछि तत्कालीन कन्सुलर गणेश अधिकारी मुम्बई पुगेका थिए । पछि कपिलवस्तु नै घर भएका दीपकुमार उपाध्याय राजदूत भएपछि केही हुन्छ भनेर पीडितले आस गरे तर केही भएन । पूर्वराजदूत उपाध्यायले पीडितले क्षतिपूर्ति नपाउनु दुःखद भएको र राज्यको तर्फबाट कमजोरी भएको स्विकारे ।
गत वर्ष फागुनमा नीलाम्बर आचार्य राजदूत बनेर दिल्ली आए । त्यसपछि पनि दूतावासका तर्फबाट पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउन पहल भएन । ‘क्षतिपूर्तिका लागि पहल नहुनुमा केही कमजोरी भएको हुन सक्छ,’ उनले भने । दूतावासका पूर्व र बहालवाल उच्च अधिकारीहरूका यस किसिमका निरीह अभिव्यक्तिले पनि घटनाका सम्बन्धमा राज्यले देखाएको बेवास्ता प्रस्ट हुन्छ ।
तर तिवारीले हार मानेका छैनन् । मृतकका परिवार र घाइतेलाई न्याय दिलाउन प्रयास जारी राख्ने उनले बताए । कानुनविद् आचार्यले माथिल्लो अदालतमा अपिल गर्ने सम्भावना खोज्नुपर्ने बताए । ‘अपिल गर्न मिल्छ भने दूतावासले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ,’ उनले भने ।
िि
िघटनालगत्तै सत्भरा पुगेका जिल्ला प्रशासन कार्यालयका अधिकृतले काजकिरियाका लागि सरकारले एक एक लाख दिने घोषणा गरेका थिए तर पीडित परिवारले पाएनन् । केही गाउँले गोदामका साहुले क्षतिपूर्ति दिन्छन् कि भन्ने आस गरेर मुम्बई गएका थिए । उनीहरू पनि रित्तै हात फर्किनुपर्‍यो । ‘अब त कतैबाट सहयोग पाइएला भन्ने आस मरिसक्यो,’ श्यामदेवले भने, ‘भगवान्ले नै हेपेपछि मानिसले के हेर्थे र ?’ गाउँका अगुवा तथा राजनीतिक नेता सच्चिदानन्द शुक्लले राज्यले यतिसम्म लापरबाही गर्छ भन्ने कुरा सभ्य समाजमा सोच्न नसकिने बताए । ‘मृत्युका बेला त आफ्ना नागरिकको चासो नराख्ने राज्यबाट अरू के अपेक्षा राख्नु ?’ उनले भने । ‘भगवान्ले त हेरेनन्, सरकारबाट के आस ?’ परसरी यस्तै सोचेर
चित्त बुझाउँछन् ।
भारतको केन्द्र सरकार र महाराष्ट्र राज्य सरकारले नेपालीका पक्षमा सामान्य मानवीय व्यवहारसमेत देखाएनन् । आगलागीका बेला महाराष्ट्रका मन्त्री एकनाथ सिन्देले घटनास्थल पुगेर घाइतेका परिवारलाई उचित क्षतिपूर्ति दिलाउने वचन दिएका थिए तर अहिलेसम्म हात परेको छैन । दुई महिनाअघि दिल्लीको रानी झाँसी रोडमा रहेको पुरानो अनाज मण्डीमा आगलागी हुँदा ज्यान गुमाएका ४३ जनाका आफन्तलाई दिल्ली सरकारले तत्काल १० लाख भारु र प्रधानमन्त्री नरेन्द्र मोदीले दुई–दुई लाखका दरले र घाइतेलाई ५० हजारका दरले क्षतिपूर्ति दिने निर्णय गरेका थिए । यस्तै प्रकृतिको मुम्बई घटनाका पीडित नेपालीले भने क्षतिपूर्ति पाएनन् । सत्भराका शिक्षक गिरीले भने, ‘आफ्नै सरकारले आँखा चिम्लिएपछि भारतले के गर्थ्यो ?’

 

मुख्य पृष्ठ

एमसीसीमा नेपालको १३ अर्ब किन ?

- दुर्गा खनाल

(काठमाडौ) - नेकपाको कार्यदलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताअन्तर्गत सञ्चालन हुने परियोजनामा नेपालका तर्फबाट १३ अर्ब रुपैयाँ लगानी गर्न नहुने सुझाव दिएको छ । एमसीसी ‘इन्डो–प्यासिफिक रणनीति (आईपीएस) अन्तर्गत होइन भनेर अमेरिकाले लिखित रूपमै भन्नुपर्नेसमेत कार्यदलको सुझाव छ ।
कार्यदलले गत साता प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रारम्भिक प्रतिवेदनका मुख्य बुँदा बुझाएको थियो । प्रतिवेदनले एमसीसी सम्झौताका कतिपय प्रावधान आपत्तिजनक रहेको भन्दै संशोधनबिना संसद्बाट अनुमोदन गर्न नहुने निष्कर्ष निकालेको थियो ।
स्रोतका अनुसार सम्झौतामा सच्याउनुपर्ने विषयमध्ये नेपालबाट लगानी गर्ने भनिएको १३ अर्ब रुपैयाँको मोडालिटीबारे पनि प्रतिवेदनमा उल्लेख छ । ‘अमेरिकाले अनुदान दिने र हामीले पनि एमसीसीलाई अनुदान नै दिनुपर्ने अमिल्दो खालको व्यवस्था छ । यसलाई सच्याउनुपर्छ भन्ने कुरा आएको छ,’ स्रोतले भन्यो । कार्यदलले प्रतिवेदनका मुख्य बुँदा बुझाए पनि पूर्ण रूपको प्रतिवेदन तयार भइसकेको छैन ।
सम्झौतामा अमेरिकाले एमसीसीअन्तर्गत करिब ५५ अर्ब रुपैयाँ दिने र त्यसबाहेक नेपालको पनि झन्डै १३ अर्ब रुपैयाँ रहने भनिएको छ । विदेशीले दिने यस्तो अनुदानमा नेपालको पैसा पनि थपेर परियोजना सञ्चालन गर्ने तरिका ठीक नभएको कार्यदलको निष्कर्ष छ । एमसीसी सम्झौता प्रसारणलाइन निर्माण र सडक निर्माण परियोजनाका लागि हो । प्रारम्भिक प्रतिवेदनमा १० वटा विषय सच्याउनुपर्ने भनी उल्लेख गरिएको भए पनि त्यसमा मुख्य दुइटा कुरा उल्लेख छन्– आईपीएसअन्तर्गत होइन भन्ने लिखित रूपमा अमेरिकाले भन्नुपर्ने र सम्झौताका भाषा र अमिल्दा विषय संशोधन गर्नुपर्ने । ‘एमसीसी आईपीएसअन्तर्गतको अंग होइन भन्ने अमेरिकाले स्पष्ट रूपमा लेखेर नै नेपाललाई दिनुपर्छ,’ कार्यदलको निष्कर्ष छ । आईपीएसअन्तर्गत भएजति नै ठूलो रकम पनि लिन नहुने भनिएको छ । एमसीसी सम्झौताको बौद्धिक सम्पत्तिसम्बन्धी प्रावधानमा पनि नेकपा कार्यदलले विशेष आपत्ति जनाउँदै संशोधन गर्नुपर्ने सूचीमा राखेको छ ।

यो परियोजनामा नेपालको समेत पैसा जोडिने भएकाले यसअन्तर्गत सिर्जना हुने कुनै बौद्धिक इनोभेसनमा अमेरिकाकै ‘प्याटेन्ट राइट’ हुने कुरा गलत भएको निष्कर्ष छ । परियोजनाको लेखापरीक्षणको विषय सच्याउनुपर्ने भनिएको छ । नेपालको पैसा जोडिने भएकाले यसको लेखापरीक्षण नेपालको महालेखापरीक्षकले नै गर्ने भन्ने स्पष्ट उल्लेख हुनुपर्ने सुझाव कार्यदलले दिएको छ । यो नितान्त दुईपक्षीय सम्झौता हो भन्ने पनि स्पष्ट खुल्न नसकेकाले प्रस्टता चाहिएको कार्यदलको निष्कर्ष छ ।
एमसीसी सम्झौता जस्ताको तस्तै संसद्बाट अनुमोदन गरे नेपालको सार्वभौमसत्तामै असर पर्ने कार्यदलको निचोड छ । दक्षिण एसियाली मुलुक श्रीलंकाले शुक्रबार मात्र यस्तै खालको आशंकामा एमसीसीसँगको सम्झौता अस्वीकार गर्ने निर्णय गरेको छ । नेपालमा पनि झन्डै ६ महिनादेखि यो विषय चर्को विवादमा परेको छ । सम्झौता स्विकारे नेपालको सार्वभौमसत्ता र सुरक्षामा पनि खतरा आउने विश्लेषण सत्तारूढ दलका केही नेताले गरेपछि यो सम्झौता संसद्मा अनुमोदन हुनबाट रोकिएको छ । अनुमोदनमा ढिला भएपछि अमेरिकी अधिकारीहरूले नेपाल आएर लबिइङ गरिरहेका छन् । अमेरिकी दूतावासले एमसीसी विशुद्ध
विकास परियोजनासँग मात्र सम्बन्धित रहेको भन्दै स्पष्टीकरण पनि दिएको छ । तर अमेरिकी अधिकारी र दूतावासको स्पष्टीकरणमा सत्तारूढ दलका नेताहरू विश्वस्त हुनसकेका छैनन् ।
सम्झौता संसद्बाट अनुमोदन भएन भने नेपालले अनुदान गुमाउने छ । परियोजना अघि बढाउन समय घर्किंदै गएको छ । कार्यदलले संसद्मा अनुमोदनका लागि पेस भएको मूल सम्झौताबाहेक अन्य सहायक सम्झौताहरूसमेत रहेको जनाएको छ । सहायक सम्झौता गर्दा परराष्ट्र मन्त्रालयलाई गुमराहमा राखिएको कार्यदलको प्रतिवेदनमा जनाइएको छ । त्यसैले अनुमोदनअघि ती सहायक सम्झौताबारे थप स्पष्टता जरुरी देखिएको छ । बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री रहेका बेला ०६८ सालमा एमसीसीको परियोजनाका लागि नेपाल छानिएको थियो । लोकतान्त्रिक र मानव अधिकारप्रति प्रतिबद्ध मुलुकलाई एमसीसीमार्फत सहयोग गर्ने अमेरिकी नीति रहेको छ । ०७२ भदौमा सम्भावित आयोजनाबारे अध्ययन गर्न प्राविधिक अनुदान सहायता स्वीकार गर्नेसम्बन्धी सम्झौता भयो भने ०७४ जेठमा दुईपक्षीय वार्ता टोली गठन गरियो । ०७४ भदौ १९ को मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गर्‍यो र शेरबहादुर देउवा सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ०७४ भदौ २९ मा अमेरिका पुगेर सम्झौतामा हस्ताक्षर गरे । सम्झौताका क्रममा संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धता नेपालले गरेको थियो ।


कार्यदलका मुख्य निष्कर्ष
१. एमसीसी आईपीएसको अंग
होइन भनेर अमेरिकाले लिखित रुपमा भन्नुपर्ने
२. नेपालतर्फका करिब १३ अर्ब जोड्ने मोडालिटी बेठिक
३. बौद्धिक सम्पत्तिमा नेपालको अधिकार हुनुपर्ने
४. लेखापरीक्षण नेपालकै महालेखापरीक्षकबाट गराउनुपर्ने
५. नितान्त दुईपक्षीय सम्झौता हो भन्ने स्पष्ट भाषा राख्नुपर्ने
६. हुबहु अनुमोदन भए नयाा नजिर बस्ने र अन्य मुलुकहरुको सहमति सम्झौताका लागि नकारात्मक आधार तयार पार्ने, त्यसैले संशोधन हुनैपर्ने
७. नेपालको संविधान र कानुन माथि हुने गरी सम्झौता सच्याउनुपर्ने
८. सम्झौता संशोधन नभए जतिसुकै ठूलो सहयोग पनि स्विकार्न नहुने

मुख्य पृष्ठ

श्रीलंका पछि हट्यो

प्रस्तावित सम्झौतामा हस्ताक्षर नगर्ने
- एजेन्सी

 

कोलम्बो – श्रीलंकाले मुलुकको संविधान र राष्ट्रिय सुरक्षामा खलल पुर्‍याउने खालका प्रावधान रहेको भन्दै प्रस्तावित एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने भएको छ । श्रीलंकाली मन्त्रिपरिषद्ले एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने तर सम्झौताको संशोधनमा छलफल गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्ता बन्डुवाल गुणवर्द्धनेले जानकारी दिएका छन् । ‘अमेरिकाले सम्झौताको नयाँ मस्यौदा बनाए श्रीलंकाली सरकारले पुनरावलोकन गर्न सक्छ,’ उनले भनेका छन् ।
प्रस्तावित एमसीसी सम्झौता अध्ययनका लागि बनाइएको चार सदस्यीय समितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री महिन्दा राजापाक्षले मन्त्रिपरिषद् बैठकमा पेस गरेका थिए । अमेरिकी सहयोग परियोजनाका रूपमा अगाडि बढाइएको एमसीसीमा श्रीलंकालाई समेट्ने निर्णय सन् २०१६ मा भएको थियो । एमसीसी बोर्डले सन् २०१९ अप्रिलमा श्रीलंकासँग ५ वर्षे सम्झौता गर्न स्वीकृति दिएको थियो ।
प्रस्तावित सम्झौतामा श्रीलंकाको यातायात र भूमि व्यवस्थापनका लागि ४८० मिलियन अमेरिकी डलर सहयोग दिने भनिएको थियो । सम्झौतामार्फत दिइने रकमले श्रीलंकाको भूमि नीतिलाई नै परिवर्तन गर्ने भन्दै व्यापक
विरोध भइरहेको थियो । एमसीसीको अनुदान स्विकारे भूमिको निजीकरण हुने र विदेशी कर्पोरेट हाउसहरूलाई लगानीका लागि सहज वातावरण बन्न सक्ने बुझाइ सर्वसाधारण थियो ।

Page 2
समाचार

संक्रमित देशबाट निर्बाध नेपाल प्रवेश

कोभिड–१९ संक्रमण तीव्र भएका देशबाट आउनेलाई रोक लगाउने विषयमा नेपालले कुनै तयारी गरेको छैन । बरु पर्यटन बोर्डले पूर्वनिर्धारित नेपाल भ्रमण रद्द नगर्न वा नेपाल गन्तव्यको विकल्प नरोज्न पर्यटकलाई आग्रह गरिरहेको छ ।
- जनकराज सापकोटा

(काठमाडौं) - कोरोना भाइरस भनेर चिनिने ‘कोभिड–१९’ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण
फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याइरहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य राष्ट्रलाई सतर्क रहन चेतावनी दिएको थियो । डब्लूएचओले विश्वका ५० भन्दा धेरै देशमा यसको संक्रमण देखिएको बताइरहँदा ती देशबाट नेपाल भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा नेपाल सरकारको कुनै तयारी देखिँदैन । जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक ट्रेडोस एडानोम गेहब्रेयससले कुनै पनि मुलुकमा ‘कोभिड–१९’ भित्रिन्न भनेर बस्न नहुने बताए ।
‘कुनै पनि मुलुकले कोभिड–१९ आफ्नो देशमा भित्रिँदैन भनेर सोचे गम्भीर गल्ती हुनेछ,’ ट्रेडोसले भने, ‘यसले जात, जातीयता र मुलुकको विकास नहेर्ने भएकाले सबैले सतर्कता अपनाउनुपर्छ, यो भाइरस महामारी बन्नेतर्फ उन्मुख छ,’ उनले भने, ‘यो डराउने बेला हैन । यो समय संक्रमण रोक्न उचित कदम चाल्नुपर्ने र मानिसको जीवन बचाउनुपर्ने बेला हो ।’
डब्लूएचओले भाइरसको संक्रमण चीनबाट बाँकी विश्वतर्फ तीव्र रूपमा फैलिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । पछिल्लो साता मात्रै युरोप र मध्यपूर्वदेखि अफ्रिकाको नाइजेरियासम्म भाइरस संक्रमण फैलिइसकेको छ । डब्लूएचओका अनुसार बिहीबार मात्रै ब्राजिल, जर्जिया, ग्रिस, नर्ज म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा पहिलो पटक ‘कोभिड–१९’ को संक्रमण देखिएको छ । ५० देशका ४३ हजारभन्दा धेरै व्यक्तिमा यसको संक्रमण पाइएको छ । संक्रमण बढ्ने भयले विश्वका विभिन्न देशले ‘ट्राभल एड्भाइजरी’ जारी गरेका छन् भने कैयन् देशले संक्रमितको संख्या उच्च रहेका देशका नागरिकलाई प्रवेशमा रोक लगाएका छन् ।
बीबीसीका अनुसार बिहीबारसम्म दक्षिण कोरियामा दुई हजारभन्दा धेरै र जापानमा सात सयभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै इटालीमा ६ सय ४० जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । बेलायतलगायत युरोपका जर्मनी, फ्रान्स, इटाली र स्पेनमा यसको संक्रमण देखिएको छ । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार चीनका अलावा दक्षिण कोरिया, इटाली, इरान र जापानमा संक्रमित धेरै छन् ।
यी पाँचै देशबाट नेपालमा निर्बाध पर्यटक भित्रिरहेका छन् । ‘कोभिड–१९’ को संक्रमण तीव्र बनेको जनवरीमा मात्रै विश्वका १ सय ७२ भन्दा धेरै देशबाट ६५ हजार ९ सय ९३ विदेशी र १ लाख १२ हजार ५ सय १४ नेपाली विश्वका विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको देखिन्छ । फागुन ८ यताको आठ दिनमा मात्रै १२ हजार ७ सय ९६ नेपाल भित्रिएका छन् । जसमध्ये भाइरसको मुख्य जोखिममा रहेका पाँच देश चीन, इरान, इटाली, जापान र कोरियाका नागरिक मात्रै १ हजार ३ सय ७८ जना छन् ।
अध्यागमन विभागका अनुसार पछिल्लो आठ दिनमा चीनबाट ५ सय ७२, इरानबाट १७, इटालीबाट २ सय १९, जापानबाट ३ सय ४१, कोरियाबाट २ सय २९ विदेशी नेपाल आएको देखिन्छ । डब्लूएचओका अनुसार बिहीबारसम्म इरानमा २६ जनाको मृत्यु भएको र २ सय ४५ जनामा संक्रमण देखिएको छ । संक्रमण तीव्र भएपछि इरानले राजधानी तेहरानको सार्वजनिक क्षेत्र बन्द गरेको छ भने चीनबाट आउने पर्यटकलाई रोक लगाएको छ । त्यस्तै कोरियामा संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।


अध्यागमन विभागका अनुसार फेब्रुअरी १ यताका २७ दिनमा मात्रै ७३ हजार ५ सय ३२ विदेशीसहित १ लाख ७६ हजार २ सय ७२ जना नेपाल भित्रिएका छन् । चीनबाट मात्रै ३ हजार एक सय ३० चिनियाँ आएका छन् । गत डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो पटक देखिएको यो भाइरस चीनबाहिरका पाँच हजारभन्दा धेरैमा देखिएको डब्लूएचओले जनाएको छ । संक्रमणका कारण चीनमा २ हजार ७ सय ८८ जनाको मृत्यु भएको र करिब ७९ हजारमा संक्रमण देखिएको पुष्टि भइसकेको छ । डब्लूएचओले इरान, इटाली र दक्षिण कोरियामा देखिएको भाइरसको पछिल्लो संक्रमणलाई गम्भीर र खतरनाक भनेको छ । छिमेकी देश भारतले बिहीबारबाट लागू हुने गरी जापान र दक्षिण कोरियाका नागरिकलाई भारत प्रवेशमा तत्कालका लागि रोक लगाएको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार संसारका करिब ५० देशले कोरियालीहरूलाई तत्कालका लागि प्रवेशमा रोक लगाएका छन् ।
भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिरहँदा अमेरिकाले स्वास्थ्यमा आपतकालीन अवस्था निम्तिएको घोषणा गरेको छ । बेलायतले गम्भीर स्वास्थ्य चुनौती देखापरेको भनेको छ भने जापानले सबै स्कुलमा पठनपाठन तत्कालका लागि बन्द गरेको छ । गत जनवरी ३० मा डब्लूएचओले ‘कोभिड–१९’ संक्रमणका कारण आपतकाल घोषणा गरिसकेको छ ।
अध्यागमन विभागलाई नियमन गर्ने गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले तत्कालका लागि विदेशबाट आउनेलाई रोक लगाउने विषयमा मन्त्रालयमा कुनै कुरा नभएको बताए । उनले विदेशबाट आउनेमा संक्रमण देखियो भने उनीहरूलाई विदेशकै विमानस्थलले पनि रोक्ने र त्यस्ता व्यक्ति आइहाले हाम्रो विमानस्थलमा रहेको हेल्थ डेक्सले पनि रोक्ने बताए । उनले भाइरस संक्रमण तीव्र भएका देशबाट आउनेलाई के गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले केही नभनेकाले यसबारे कुनै निर्णय नलिइएको बताए ।
नेपाल पर्यटन बोर्डले बुधबार कोराना भाइरसबारे पर्यटकलाई लक्षित गर्दै जारी गरेको सूचनामा नेपालमा एक जनालाई मात्रै भाइरसको संक्रमण देखिएको र उनी पूर्ण रूपमा निको भएर घर फर्किसकेको उल्लेख छ । बोर्डले चीनको वुहान प्रान्तबाट उद्धार गरेर ल्याइएका १ सय ७५ लाई आइसोलेसन गरेर विशेष निगरानीमा राखिएको र उनीहरूमा पनि भाइरसको कुनै संक्रमण अहिलेसम्म नदेखिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले विमानस्थल र अन्य सीमा नाकामा पनि भाइरस संक्रमितलाई निगरानी गर्न विशेष समूह परिचालन गरेको जनाउँदै बोर्डले पूर्वनिर्धारित नेपाल भ्रमण रद्द नगर्न वा नेपाल गन्तव्यको विकल्प नरोज्न आग्रह
गरेको छ ।

समाचार

थप ६ देशमा संक्रमण

मंगोलियाका राष्ट्रपति क्वारेन्टाइनमा
- रोयटर्स

जेनेभा – ६ वटा मुलुकमा शुक्रबार पहिलोपटक कोभिड–१९ संक्रमण पाइएको छ । अफ्रिकी राष्ट्रमध्ये सबैभन्दा धेरै जनसंख्या रहेको नाइजेरियामा भाइरस संक्रमण पुष्टि भएको छ । इटालीबाट आएका एक पुरुषमा संक्रमण पाइएको स्वास्थ्य अधिकारीले जनाएका छन् । न्युजिल्यान्डमा पनि पहिलो संक्रमित पुष्टि भएको छ । इरानबाट फर्किएका एक व्यक्तिमा कोभिड–१९ देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । पूर्वी युरोपका बेलारुस र लिथुवानियाले पहिलोपटक आफ्ना देशमा कोभिड–१९ को संक्रमण पाइएको जनाएका छन् । इस्टोनिया र नेदरल्यान्ड्सले पनि भाइरस संक्रमित रहेको पुष्टि गरेका छन् ।

बेलायती नागरिकको मृत्यु
कोभिड–१९ बाट जापानमा एक बेलायती नागरिकको मृत्यु भएको छ । योकोहामामा राखिएको प्रिन्सेस डाइमन्ड पानीजहाजमा रहेका उनको मृत्यु भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसले उत्पन्न गराउने रोग कोभिड–१९ का कारण मृत्यु हुने उनी पहिलो बेलायती नागरिक हुन् । बेलायतले गत शनिबार उक्त पानीजहाजबाट ३२ जनालाई स्वदेश फर्काएको थियो । हाल उनीहरूलाई विर्रालस्थित एरो पार्क अस्पतालमा दुई साताका लागि क्वारेन्टाइनमा राखिएको छ । जापानमा मृत्यु भएका बेलायतीमा भने संक्रमण देखिएपछि त्यतै राखिएको थियो ।
बेलायतमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इरानमा रहँदा अर्का दुई बेलायतीमा संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । बेलायतमा हालसम्म १९ जनामा कोरोना संक्रमण पाइएको छ । हङकङबाट प्रिन्सेस डाइमन्ड पानीजहाजमा यात्रा गरेका एक पुरुषलाई कोरोना भाइरस संक्रमण पाइएपछि फेब्रुअरीको पहिलो सातादेखि उक्त जहाजलाई जापानको तटीय सहर योकोहामामा क्वारेन्टाइनमा राखिएको छ । पानीजहाजमा यात्रा गरेका मात्रै ६ जनाको कोभिड–१९ ले मृत्यु भएको छ ।

चीनबाट फर्केपछि क्वारेन्टाइनमा
चीनको छिमेकी मंगोलियाका राष्ट्रपति बट्टुल्गा खल्तमालाई क्वारेन्टाइनमा राखिएको छ । हालसम्म कोभिड–१९ को संक्रमण पुष्टि गरिनसकेको मंगोलियाले सुरक्षाका हिसाबले भर्खरै चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिलाई क्वारेन्टाइनमा राखेको हो ।

समाचार

बाँस्कोटा अदालतमा

मिश्रविरूद्ध गाली–बेइज्जतीको मुद्दा
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ७० करोड रुपैयाँ कमिसन मोलमोलाइ गरेको टेप सार्वजनिक भएपछि राजीनामा गरेका पूर्वमन्त्री गोकुल बाँस्कोटाले अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली–बेइज्जतीको मुद्दा दायर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले टेप प्रमाणित नरहेको भनी अभिव्यक्ति दिएको भोलिपल्टै बाँस्कोटाले आफ्ना वारेसमार्फत मुद्दा हालेका हुन् । उनले मिश्रविरुद्ध ‘झूटा लाञ्छना लगाई गाली–बेइज्जती गरेको’ आरोपमा हदैसम्मको सजाय र क्षतिपूर्तिको माग गरेका छन् । उनले क्षतिपूर्तिको रकम किटान गरेका छैनन् तर मुद्दा गर्दा लागेको खर्च मिश्रबाटै भराई पाउनुपर्ने मागदाबी गरेका छन् ।
मुद्दामा पूर्वमन्त्री बाँस्कोटाले पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नाम दुई ठाउँमा अर्थपूर्ण रूपमा उल्लेख गरेका छन् । लगानी बोर्डमा स्वीट्जरल्यान्डको केभीए नोटासिसका प्रतिनिधिले प्रस्ताव पेस गर्दा बोर्ड अध्यक्ष दाहाल नै रहेको विवरण पनि मुद्दामा राखिएको छ । दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले सुरक्षण मुद्रण विकास समिति गठन गरेको जनाउँदै उनले त्यसकै आधारमा सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा दुई वर्षभित्र सुरक्षित छापाखाना स्थापना गरी राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा छापिने उल्लेख गरेको तर्क गरेका छन् ।
नीति तथा कार्यक्रममा समावेश भएको विषय कार्यान्वयन गर्नु आफ्नो कर्तव्य हुने भन्दै बाँस्कोटाले त्यसपछि विभिन्न निजी कम्पनीबाट सुरक्षण मुद्रणको जानकारी दिन भने प्रतिनिधिहरू भेट्न आउने गरेको दाबी गरेका छन् । ‘जानकारी दिन आउने व्यक्तिसँग सम्भावित लागत, गुणस्तर, अवधि, तुलनात्मक लाभलगायतका विषयमा जानकारी लिने गरेको थिएँ,’ फिरादपत्रमा बाँस्कोटाले भनेका छन्, ‘यसै क्रममा जानकारी दिने भन्दै मिश्रले मलाई भेटेका हुन् ।’
बाँस्कोटाले तत्कालीन प्रधानमन्त्री दाहाल लगानी बोर्डको अध्यक्ष भएका बेला २०७३ पुस २४ गते गरिएको निर्णयबाट माघ २ गते सुरक्षण मुद्रणको सम्भाव्यता अध्ययन गर्न पत्र पाएको व्यक्तिका रूपमा मिश्रले आफूलाई जानकारी गराएको बताएका छन् । मिश्रले नाजायज प्रस्ताव राखेपछि उनको हितमा कुनै काम नगरेको र गर्न नदिएको उनले दाबी गरेका छन् । आफूले २०७५ वैशाख २३ गते एक सञ्चारमाध्यममा ‘हो, मान्छे आउँछन्, यति करोड कमिसन आउँछ सही गर्दिनुपर्‍यो भनेर’ भनी अन्तर्वार्ता दिएको दाबी गरेका छन् । उनले २०७६ पुस २३ गते पत्रकार महासंघ भक्तपुरको कार्यक्रममा पनि ‘म मन्त्री भएदेखि को कमिसन दिन आए भन्ने कुराको डायरी लेख्दै छु’ भनेको उल्लेख गरेका छन् ।
विभिन्न कम्पनीका प्रतिनिधिहरू बदनियतका साथ आफ्नो स्वार्थ पूरा गर्न सक्रिय भएपछि आफूले सुरक्षण मुद्रण ‘सरकार–सरकार (जी टु जी) मात्रै खरिद गर्ने विधि अपनाएको दाबी गरेका छन् । बाँस्कोटाको दाबीअनुसार मिश्रले झूटा प्रमाण खडा गरी अडियो टेप सार्वजनिक गरेका हुन् । उनले मिश्रसँग आफ्नो कुनै कुराकानी र छलफल भएको भए पनि सहमतिबिना यान्त्रिक उपकरण प्रयोग गर्नु अपराध रहेको जिकिर गरेका छन् ।

 

समाचार

निगमको जहाजमा २१ जना सित्तै जापान उड्दै

- सुरज कुँवर

(काठमाडौं) - दैनिक ५३ लाख रुपैयाँ घाटा बेहोर्दै आएको र ४० अर्बको ऋणमा डुबेको नेपाल वायुसेवा निगमले सोमबार जापानको नारिताका लागि गर्न लागेको पहिलो उडानमा २१ जनालाई ‘औचित्यबिना’ लैजाने भएको छ । उनीहरू सबैको आतेजाते टिकट, भिसा शुल्क, होटल खर्च, दैनिक भ्रमण भत्ता निगमले व्यहोर्ने छ । निगमले यसमा न्यूनतम २५ लाख रुपैयाँ लाग्ने
भनेको छ ।
निगमका एक निर्देशकका अनुसार सञ्चालक समिति सदस्य तथा सांसदलाई दैनिक १ सय १० डलर भत्ता, जापान बसाइमा प्रतिकोठा दैनिक १ सय १२ डलर, जानेआउने हवाई टिकट, कार्यक्रमलगायत खर्चको बिल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई बेहोर्न भनिएको छ । ‘सांसदलगायतलाई एकतर्फी १ लाख रुपैयाँ हाराहारी पर्ने बिजनेस श्रेणीको सिटमा लैजाने भनिएको छ,’ निगमको वाणिज्य विभागका एक कर्मचारीले भने, ‘तर यताबाट जाँदा सबै बिजनेस श्रेणीका सिट खाली भएकाले भ्रमणमा जाने सबैको सिट ७० हजार रुपैयाँ पर्ने इकोनमी श्रेणीबाट अपग्रेड गर्नुपर्ने भनिएको छ ।’
जापानका लागि उड्ने निगमको वाइडबडी विमानमा १८ वटा बिजनेस, २ सय ५६ इकोनमीसहित २ सय ७४ वटा सिट छन् । यो भ्रमणमा इकोनमी श्रेणीमा राखिएका भ्रमणका सदस्यलाई बिजनेस श्रेणीमै लैजाने भनिएको विमानस्थलस्थित अन्तर्राष्ट्रिय उडान हेर्ने एक अधिकारीले बताए । सोमबार जाने नेपाली टोली बुधबार मात्रै फर्किने छ ।
निगम व्यवस्थापनले यो भ्रमणलाई ‘मन्त्रालयको दबाब’ का कारण तय गर्नुपरेको भनेको छ । ‘अन्तिम समयमा सूची आयो, हामीलाई थाहै थिएन,’ निगमका एक अर्का अधिकारीले भने, ‘कोरोना भाइरस संक्रमण जोखिमका कारण जापान सरकारले जारी गरेको ट्राभल एड्भाइजरीका कारण निगमको तामझामको कार्यक्रम थिएन । भीडभाड, सभा सम्मेलनमा रोक लगाइएकाले सिधा उडानको कार्यक्रम थियो ।’ मन्त्रालयबाट दबाब आएपछि आफूहरूले रोक्न नसक्ने उनले बताए । ‘हाम्रो अवस्था नाजुक छ । कर्मचारीलाई उपदान दिने पैसा छैन । तालुक मन्त्रालयका पदाधिकारी आफ्नै बाउको कम्पनी ठान्छन्, कसलाई भन्नु ?’ ती अधिकारीले भने, ‘मन्त्रीले वाह नेपाल वायुसेवा बनाउँछु भनेका छन् तर उनकै नेतृत्वको मन्त्रालयबाट फजुल खर्चका लागि दबाब आउँछ ।’
मन्त्रालयले पठाएको १८ जनाको सूचीमा १४ जनाको नाम नसुनिएका र पर्यटन तथा निगमसँग असम्बन्धित रहेका ती निर्देशकले कान्तिपुरसँग भने । यीबाहेक दुई जना सञ्चालक समिति सदस्य र दुई जना निगमका निर्देशक छन् ।
लेखालगायत विभिन्न संसदीय समितिले विगतमा निगमको जहाजमा सित्तैमा हुने भ्रमणलाई रोक लगाउनुपर्ने र औचित्य पुष्टि नभएको भ्रमणमा खर्च असुलउपर गर्नुपर्ने निर्देशन दिँदै आएका छन् ।
यस पटक निगम व्यवस्थापनले मन्त्रालयबाट पठाइएको सूचीलाई पर्यटन सचिव केदारबहादुर अधिकारी अध्यक्ष रहेको निगमको सञ्चालक समितिमा पठाएको थियो । उक्त समितिले बिहीबार ६ जना सांसद, दुई जना निगमका सञ्चालक समिति सदस्य, ५ जना कर्मचारी, पर्यटनमन्त्री योगेश भट्टराईको सचिवालयका स्वकीय उपसचिव प्रेम गुरागाईंसहित दुई जना प्रतिनिधि, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, काठमाडौं विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसी, सरकार निकट पत्रकारहरूको संगठनका ४ जना पत्रकारको नाम अनुमोदन गरेको छ । त्यस्तै भर्खरै नारिता गइसकेका र ओशाका मात्रै ५ पटक पुगेका वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र निगमकै नायब महाप्रबन्धक गणेशबहादुर चन्द पनि यो भ्रमणमा जाँदै छन् । यो भ्रमण टोलीमा मन्त्रीका प्रेस संयोजक राजेश राई पनि छन् ।
‘यो नौटंकी भ्रमण हो । यसअघि ओशाकामा पनि यस्तै भ्रमण भएको थियो तर त्यस सेक्टरमा अर्बौं घाटा बेहोर्दै बन्द गर्नुपर्‍यो,’ निगम सञ्चालक समितिका एक सदस्यले भने, ‘कति विरोध गर्नु । म एक जना बोर्ड सदस्यले रोकेर रोकिँदैन ।’
सञ्चालक समितिमा रहेका अर्थ मन्त्रालयका प्रतिनिधि सहसचिव विष्णुराज ढकालले ‘आफूले बोल्न नमिल्ने विषय’ भन्दै टिप्पणी गर्न चाहेनन् । उनले आफू यो भ्रमणमा सामेल नहुने पनि बताए ।
हाल कोभिड–१९ को प्रभाव विश्वभरको पर्यटन क्षेत्रमा परेकाले पर्यटनमन्त्री भट्टराईले जापान नजाने भनेको र निगम अध्यक्ष पर्यटन सचिव अधिकारी जर्मनीमा हुन लागेको पर्यटन मेलामा जाने भएको हुनाले उनीहरूको नाम सूचीमा नराखिएको स्रोतले भनेको छ । निगममा ऋण लगानी गर्ने कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल इन्भेस्टमेन्ट बैंक, हिमालय बैंकका प्रतिनिधिहरूले पनि विवादमा परिने र जापानमा कोभिड–१९ को संक्रमण फैलिसकेकाले निगमको भ्रमणको निम्तो अन्तिम समयमा रद्द गरेको स्रोतले बताएको छ । भिसा पनि आइसकेपछि शुक्रबार बेलुकी वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भ्रमण नगर्ने जानकारी गराएको निगमको महाप्रबन्धक कार्यालयले जनाएको छ ।
भ्रमण टोलीमा रहेका नेकपाका सांसद कृष्ण दाहालले आफ्नो नाम सूचीमा परेको बारे थाहा नभएको बताए । ‘मलाई थाहा नै थिएन । खै कसैले फ्याट्ट फोन गरेर तपार्इं पनि जानुपर्‍यो भने,’ संसद्को अर्थ समितिका सांसदसमेत रहेका उनले भने, ‘फोन गर्ने को हुन् थाहा भएन ।’ कांग्रेस सांसद पुष्पा भुसालले आफू संसद्को अन्तर्राष्ट्रिय समितिबाट प्रतिनिधित्व गर्न लागेको जनाउँदै आफ्नो भ्रमणलाई पार्टीबाट पनि अनुमति रहेको बताइन् । विगतमा भएका भ्रमणको औचित्यमा प्रश्न गर्ने संसद्को लेखा समितिका सभापति भरतकुमार शाहले निगमले गर्न लागेको भ्रमणलाई फजुल खर्च भनेका छन् । ‘तथ्यसहित आए हामी छानबिन गर्छौं,’ उनले भने । पर्यटनमन्त्री भट्टराईले यो भ्रमणबारे आफूलाई जानकारी नभएको दाबी गरे ।

Page 3
समाचार

ओली–दाहाल अडानमै, नेपालको मध्यस्थता

समूह–समूहमा छलफल चलिरहे पनि बुधबारयता दुई अध्यक्षबीच भेटघाट र संवाद भएको छैन
- बिनु सुवेदी

(काठमाडौं) - नेकपा उपाध्यक्ष वामदेव गौतम शुक्रबार बिहान ७ बजेर ४२ मिनेट जाँदा अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगे । लगत्तै आइपुगे– वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल पनि । पछिल्लो एक सातामा दोस्रो पटक भएको यो जमघटको सुरुवात गौतमको गुनासोबाट भयो । नेकपाभित्रको पछिल्लो राजनीतिक समीकरणले सबभन्दा धेरै पिरोलिएका गौतम अहिले शारीरिक रूपमा पनि अस्वस्थ छन् । ‘बिरामी छु तर परिस्थितिले आराम गर्न दिइरहेको छैन,’ भैंसेपाटीस्थित निवासको जमघटमा उनले दुखेसो पोखे, ‘राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनयन गर्नेको संख्या ३ बाट बढाएर ९ जना पुर्‍याउने गरी संविधान संशोधन गर्नुपर्ने प्रधानमन्त्रीको प्रस्तावमा तपाईंहरू किन सहमत हुनुभएन ? त्यतिखेर तपाईंहरू मानेको भए अहिले यस्तो किचलो हुने नै थिएन ।’
गौतमलाई दाहालले उनकै फाइदाका लागि असहमति जनाउनुपरेको स्पष्ट पारे । ‘तपाईंको माग संविधान संशोधनपछि मात्र राष्ट्रिय सभा सदस्य बन्छु भन्ने थियो,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले अहिले खाली भएको एक सदस्यमा युवराज खतिवडालाई पठाइहाल्नुहुन्थ्यो । संविधान संशोधन गरौंला, गरौंला भन्दै त्यहीं पनि रिंग्याउन सक्नुहुन्थ्यो, त्यसैले हामी सहमत हुन सकेनौं ।’ गत शनिबारको नेकपा सचिवालय बैठकमा संविधान संशोधनबारे छलफल हुँदा प्रधानमन्त्री ओलीले मनोनीतको संख्या बढाउन सकिने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा गौतमको मात्रै सहमति थियो । त्यही विषयलाई पृष्ठभूमिमा राखेर शुक्रबारको भेलामा गौतमले दुखेसो पोखेका हुन् । दाहालले गौतमसँग अहिले राष्ट्रिय सभामा नजाँदा पछि बाटो रोकिने भएकाले आफूहरूले जोडबल गरेको बताए । दाहालको कुरामा खनाल र नेपालले पनि सहमति जनाए ।
शनिबारको सचिवालय बैठकमा संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय भएको थियो । उक्त निर्णय गोप्य राख्ने गरी भएको सहमति तोडिएपछि पार्टीभित्रको भाँडभैलो पनि छताछुल्ल भयो । त्यसपछि पनि नेताहरूका दुईपक्षीय र बहुपक्षीय बैठक जारी रहे । गत मंगलबार साँझ दाहाल, खनाल, गौतम र नेपाल सम्मिलित छलफलमा गौतमलाई अहिले बिनासर्त राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न सहमत गराएका थिए । गौतमलाई मनाउनुको पछाडि ‘राष्ट्रिय सभा सदस्यका रूपमा युवराज खतिवडाको निरन्तरतालाई कुनै हालतमा रोक्न दाहालले व्यापारिक घरानाका व्यक्तिहरूसँग छलफल गरेको’ बालुवाटारको दाबी छ ।
गौतम सहमतिमा उनी स्वयंकै स्वार्थ पनि जोडिएको स्रोतको दाबी छ । त्यो हो, पार्टीभित्र गौतम र खतिवडाबीच भएको तिक्ततापूर्ण सम्बन्ध । ‘खतिवडाजी मन्त्री भएपछि विभिन्न विषयमा उहाँहरूबीच मतभेद भइरह्यो,’ नेकपा स्रोतले भन्यो, ‘कतिसम्म भने पार्टीका कतिपय आन्तरिक बैठकमा गौतमले खतिवडालाई एकदमै हेपेर बोल्नुहुन्थ्यो ।’ यो विषयबारे खतिवडा स्वयंले निकटस्थहरूसँग बताउँदै आएका थिए । खतिवडाको आर्थिक नीतिले विवादास्पद व्यापारीहरूलाई अप्ठ्यारो परेपछि उनीहरूले गौतमसँग गुनासो गर्ने र व्यापारीकै बहकाउमा गौतमले खतिवडालाई हप्कीदप्की गर्ने गरेको स्रोतको दाबी छ ।
गत महिनासम्म संविधान संशोधन नभएसम्म राष्ट्रिय सभामा जान्न भन्ने गौतम बिनासर्त राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रिय सभामा जाने मंगलबार साँझको त्यो सहमतिको प्रतिविम्ब बुधबार बिहान बसेको सचिवालय बैठकमा देखियो । दाहालले गौतमलाई बिनासर्त राष्ट्रिय सभा सदस्य बन्न प्रस्ताव गरे, सबै सदस्यले समर्थन जनाए, ओलीले मौनता साधे ।
त्यो बैठकमा तीनवटा निर्णय माइन्युट गरियो– पहिलो गौतमलाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनयन गर्नका लागि सिफारिस गर्न सरकारलाई सुझाव दिने, दोस्रो संविधान संशोधनका लागि अध्ययन गर्न बनेको कार्यदल भंग गर्ने र तेस्रो औचित्य र आवश्यकताका आधारमा संविधान संशोधनका लागि छलफल अघि बढाउने । तीनवटै निर्णय सर्वसम्मत भएको नेकपाको माइन्युटले बताउँछ तर बैठकको अध्यक्षतासमेत गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय सार्वजनिक भएको केही घण्टामै आफू पार्टीको सुझाव मान्न बाध्य नभएको भन्दै राष्ट्रिय सभामा खतिवडालाई पठाउने अडान लिए, अहिलेसम्म उनको यो अडान उसैगरी यथावत् छ, जसरी गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने अडान ओलीबेगरका सचिवालय सदस्यले राखिरहेका छन् ।
यो उथलपुथलपूर्ण वातावरण बनिरहँदा बुधबारयता दुई अध्यक्षबीच भेटघाट र संवाद भएको छैन । शुक्रबार बिहान करिब दुई घण्टा दाहालसम्बद्ध गुटको भेला भने भयो । प्रधानमन्त्री ओलीले पार्टीले गरेको निर्णय मान्नैपर्ने ‘नत्र जस्तो परिस्थिति आए पनि भोग्न तयार हुनुपर्ने’ उक्त भेलाको निष्कर्ष थियो । भेलापछि खनालले कान्तिपुरसँग ‘लोकतान्त्रिक व्यवस्था भएको पार्टीका अध्यक्षले आफैं सम्मिलित बैठकको निर्णय मान्दिन भन्न नमिल्ने’ बताए ।
यही कुरा दाहालले पनि चितवन पुगेर सार्वजनिक गरे । ‘उपाध्यक्ष वामदेव गौतमजीलाई राष्ट्रिय सभामा पठाउने सचिवालयले सर्वसम्मत निर्णय हो,’ उनले भने, ‘निर्णय प्रधानमन्त्रीले मान्नुहुन्छ, मान्नैपर्छ, एक/दुई दिनमा थाहा पाइहाल्नुहुन्छ ।’ दाहालले राष्ट्रिय सभाको २० गते रिक्त हुने सिटमा गौतम नै जाने उल्लेख गरे । त्यति मात्र होइन, दाहालले प्रधानमन्त्रीले चाहँदा अर्थमन्त्रीलाई बाँकी ६ महिनाका लागि यथावत् राख्न सक्ने बताए । संविधानमा सांसद नभएको व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने प्रावधान छ ।
वर्तमान मन्त्रिपरिषद्मा आफ्नो विश्वासपात्रका रूपमा चिनिएका खतिवडालाई निरन्तरता दिने चाहना ओलीको छ । यही चाहनाकै कारण उनले गत फागुन ८ गते अर्थमन्त्री खतिवडालाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पनि थपिदिएर कार्यकाल लम्ब्याउने संकेत दिएका थिए । पार्टी सचिवालयका अधिकतर सदस्य आफ्नो चाहनाविपरीत गएपछि बुधबारको बैठकमा ओलीले बारम्बार भनेका थिए ‘तपाईंहरूले मलाई
अप्ठ्यारो पार्नुभयो ।’ उनले पहिला १८ जनाको सिट खाली हुँदा सर्तसहित राष्ट्रिय सभा सदस्य बन्छु भनेका गौतम अहिले यत्तिकै सहमत हुनुका पछाडि ‘केही न केही खेलोमेलो छ’ भनेका थिए ।
ओलीले यही गुनासो शुक्रबार दिउँसो आफ्नै निवास बालुवाटारमा नेता नेपालसँग पनि गरे । करिब ३ घण्टा लामो छलफलमा ओलीले खतिवडालाई अघि बढ्न नदिन दाहालले खेल खेलेको र त्यसको गोटी खनाल, नेपाल र गौतम भएको भन्दै गुनासो गरे । ‘प्रचण्डजी त विभिन्न स्वार्थ समूहको षड्यन्त्रमा लागेर गौतमलाई अघि बढाइराख्नुभएको छ, तपाईंहरू किन बहकिनुभयो, मैले बुझ्न सकिनँ,’ ओलीले नेपालसँग भनेका थिए । उनले खतिवडालाई नै राष्ट्रिय सभा सदस्य बनाउने आफ्नो पूर्ववत् अडान यथावत् रहेको जानकारी नेपाललाई दिए । ‘तपाईंले परम्परा बुझ्नुभएकै छ,’ ओलीको भनाइ थियो, ‘विभिन्न विषयका विज्ञलाई सरकारले सिफारिस र राष्ट्रपतिले मनोनयन गर्ने हो, गौतमजी पार्टीभित्र हुनुहुन्छ, काममा हुनुहुन्छ, अहिले मलाई अप्ठ्यारो पार्ने गरी राष्ट्रिय सभामा किन जानुपर्‍यो ?’
नेपाल–ओली छलफलका बीचमा केही समय महासचिव विष्णु पौडेल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि बालुवाटार पुगेका थिए । पार्टीबाहिरका र विषयविज्ञलाई मन्त्रिपरिषद्ले सिफारिस गर्ने र संसद्मा उनीहरूको सिटसमेत छुट्टै हुने पुरानो संसदीय परम्परा भए पनि २०६२/६३ को जनआन्दोलनयताका सरकारले त्यसलाई मिच्दै आएका छन् । संविधानको धारा ८६ को उपधारा २ (ख) ले सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तीमा एक महिलासहित तीन सदस्य मनोनयन गर्ने व्यवस्था गरे पनि उनीहरूको योग्यताबारे संविधान मौन छ ।
जवाफमा नेपालले ओलीलाई अहिले खतिवडालाई मन्त्रीका रूपमा निरन्तरता दिन सुझाव दिँदै ६ महिनापछि अर्को विकल्प खोज्न सकिने बताएका थिए । ‘पार्टीले सर्वसम्मत निर्णय गरिसक्यो, मान्दिनँ भन्दा गलत सन्देश जान्छ,’ नेपालको भनाइ थियो, ‘युवराजजीलाई मन्त्रीकै रूपमा निरन्तरता दिऊँ, वामदेवजीलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरौं ।’
नेपालले अरू कुनै उपाय निस्किएन भने पनि एक सदस्यलाई राजीनामा गर्न लगाएर भए पनि युवराजजीलाई राष्ट्रिय सभा सदस्यका रूपमा निरन्तता दिने वातावरण बनाउने जिम्मा आफूले लिने बताएका थिए । ‘अरू कुनै उपाय भनेको के हो ?’ कान्तिपुरको प्रश्नमा स्रोतको दाबी छ, ‘तपाईंले बुधबारको निर्णय ध्यान दिएर हेर्नुस् न, आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने भन्ने छ । ६ महिनासम्म त्यो आवश्यकता महसुस हुन सक्छ, त्यही बेला राष्ट्रपतिले मनोनीत गर्ने सदस्य संख्या थप गर्न सकिन्छ ।’
संविधान संशोधनको नेकपाभित्रको छलफल भने सेलाएको छैन । शुक्रबार पनि उपाध्यक्ष गौतम र महासचिव पौडेलबीच यसबारे छलफल भयो । गौतम पक्षको दाबीअनुसार प्रधानमन्त्री ओलीको चाहनामा पौडेल संविधान संशोधनबारे छलफल गर्न गौतम निवास पुगेका हुन् । ‘यसबारे नेकपाभित्र तीन विषयमा छलफल चलिरहेको छ, पहिलो राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने, दोस्रो राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभा सदस्य संख्या बढाउने र तेस्रो प्रतिनिधिसभा चुनावमा पराजित व्यक्ति मन्त्री बन्न नसक्ने प्रावधान हटाएर संघीय संसद्का जोसुकै सांसद प्रधानमन्त्री र मन्त्री बन्न सक्ने व्यवस्था राख्ने,’ स्रोतले भन्यो, ‘राष्ट्रपतिको क्षेत्राधिकार बढाउने विषय त छँदै छ ।’

पार्टीले सुझाव मात्रै दिएको हो ः भट्टराई
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने अधिकार क्षेत्र पार्टीको नभएको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा भट्टराईले राष्ट्रिय सभा सदस्यको मनोनयनका सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेअनुसार राष्ट्रपतिले अन्तिम टुंगो लगाउने बताए । सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने विषयमा पार्टीले सरकारलाई सुझाव मात्र दिन सक्ने उनले बताए । उनले भने, ‘मनोनयनको विषयमा पार्टीको निर्णय भन्ने हुँदैन । अस्ति १८ जनाको विषयमा पार्टीले निर्णय गर्‍यो, निर्वाचन भयो । यो मनोनयनको विषय राष्ट्रपतिको विषय हो, पार्टीले निर्णय गरेर यो गर भन्ने होइन, सुझाव दिएको छ । त्यो सुझावलाई सरकारले कसरी लिन्छ भन्नेमा प्रधानमन्त्रीले जिम्मेवारीपूर्ण र परिपक्व हिसाबले निष्कर्ष निकाल्नुहुन्छ ।’
भट्टराईले गौतमको विषय व्यवस्थापन नहुने विषय नभएको र उपयुक्त हिसाबले व्यवस्थापन हुने बताए ।

Page 4
वाग्मती प्रदेश

जोखिम निम्त्याउने मोबाइल

- कान्तिपुर संवाददाता

सवारी चाप रहेको राजधानीमा पैदलयात्रु बढी जोखिममा छन् । जेब्रा क्रसमा समेत बत्तिएर आउने सवारीसाधनबाट ज्यान जोगाउनै मुस्किल छ । सवारी चालकमात्रै होइन जेब्रा क्रस र आकाशे पुल प्रयोग नगर्ने यात्रुसमेत दोषी छन् । सडकपेटीमा हिँड्दा वा जेब्रा क्रस पार गर्दा तपाईं आफूचाहिँ कत्तिको ट्राफिक नियम पालना गर्नुहुन्छ ? राजधानीका विभिन्न सडकमा मोबाइलमा कुरा गर्दै र इयरफोन लगाएर बाटो काट्दै गरेका यी पैदलयात्रुले आफै जोखिम निम्त्याइरहेका छैनन् र ?
तस्बिर ः इलिट जोशी/कान्तिपुर

वाग्मती प्रदेश

ठेक्काबिनै खोला दोहन

राप्ती नगरपालिकाको अनुगमन टोलीले नक्कली रसिद नै फेला पार्‍यो
- रमेशकुमार पौडेल
टिपर चालकबाट बरामद नक्कली राजस्व बिल । तस्बिर ः कान्तिपुर

(चितवन) - जिल्ला प्रहरी प्रमुखका रूपमा चितवन आउनासाथ एसपी नान्तीराज गुरुङ अवैध नदी दोहनविरुद्ध ‘एक्सन’मा उत्रिएका थिए । कार्यविधि मिचेर ढुंगा, गिट्टी, बालुवा निकाल्न प्रयोग भएका तीन वटा एक्स्काभेटर, १२ वटा टिपर र १४ वटा ट्र्याक्टर उनको नेतृत्वमा माघ २५ गते नियन्त्रणमा लिइयो । इच्छाकामना गाउँपालिकाले खोला उत्खननको ठेक्का लगाएको खगेरीबाट ती साधन नियन्त्रणमा लिइएको थियो ।
वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), कार्यविधि र स्थानीय तहको शुल्कसम्बन्धी नीतिबाहिर गएर नदी, खोला र खेतबाट आफूखुसी गिट्टी, ढुंगा, बालुवा र माटो निकाल्दा पालिकाका प्रतिनिधि र सरकारी अधिकारी नै आजित भएका छन् । जुटपानी प्रहरी चौकी उद्घाटन गर्दै सोमबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले गृहमन्त्री रामबहादुर थापालाई यही समस्या सुनाए ।
राप्ती नगरपालिकाले औपचारिक रूपमा लोथर खोलामा मात्रै उत्खनन गर्न अनुमति दिएको छ । तर अन्यत्रबाट पनि गिट्टी, बालुवा निकालेर बेच्ने गरेको स्थानीय बताउँछन् । ‘टोली नै बनाएर अनुगमनमा जाँदा फेरि केही भेटिँदैन,’ नगरपालिकाकी मेयर प्रभा बरालले भनिन् । फागुन ७ गते मेयरसहितको टोली वडा नं. ९ मा अनुगमनमा निस्किएको थियो । त्यसबेला भने उत्खननसँग जोडिएको अर्को समस्या पत्ता लाग्यो । ‘माटो बोकेर आएको एउटा टिपर चालकसँग बिल (रसिद) माग्यौं । तर त्यो त फर्जी रहेछ,’ मेयर बरालले भनिन् । माटो उत्खननको राजस्व काट्ने रसिद नगरपालिकाले वडा कार्यालयलाई उपलब्ध गराउँछ । जसमा नगरपालिकाको छाप पनि हुन्छ । मेयर बरालको टोलीले छाप नलगाएको रसिद फेला पार्‍यो । ‘हाम्रो बिलसँग मिल्दोजुल्दो गरेर अर्कै बिल छापेको रहेछ,’ उनले भनिन्, ‘नगरपालिकाबाट छाप लगाएको बिल वडा कार्यालयमा भेटियो ।’ फागुन ७ मा बरामद भएको ८३९१ नम्बरको उक्त बिलको सक्कल प्रतिमा १२ सय रुपैयाँ राजस्व लेखिएको थियो । त्यसको कार्बन कपी (ओसी) मा भने तीन सय रुपैयाँमात्रै चढाइएको छ ।
वडा नम्बर ९ को सुक्खा खोलामा अवैध रूपमा गिट्टी, बालुवा झिकिएको सूचना पाएर जाँदा नक्कली बिल भेटिएको उनले बताइन् । ‘हामीले ठेक्का नै नलगाएको सुक्खा खोलामा पनि मनपर्दी उत्खनन भएको रहेछ,’ उनले भनिन् ।
खोलाबाट दैनिक एक सय ३२ घन मिटरसम्म गिट्टी, बालुवा निकाल्न पाउने सर्त छ । एउटा टिपरमा आठदेखि १२ घन मिटरसम्म गिट्टी, बालुवा अट्छ । तर जति गाडी खोलामा पुगे, त्यहीअनुसार तोकिएभन्दा कैयौं गुणा बढी सामग्री निकाल्ने गरिएको जिल्ला समन्वय समितिका संयोजक कृष्ण डल्लाकोटीले बताए । चितवनमा अघिल्लो वर्ष गिट्टी, ढुंगा, बालुवा निकाल्न स्वीकृति दिएर जिल्लाका स्थानीय तहले लगभग १५ करोड रुपैयाँ राजस्व संकलन गरेका थिए ।

वाग्मती प्रदेश

संशोधित बजेटमा २७ करोड वृद्धि

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– हेटौंडा उपमहानगरपालिकाको छैटौं नगरसभाले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको सभाध्यक्षतामा बसेको बैठकले संशोधित बजेटमा २७ करोड रुपैयाँ वृद्धि गरेको छ । पाचौं नगरसभाले चालु आवमा एक अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरेकोमा छैटौं नगरसभाले २ अर्ब ८ करोड रुपैयाँ बजेट पारित गरेको छ । आन्तरिक र बाह्य आम्दानी वृद्धि भएकाले संशोधित बजेटको रकम बढेको उपमहानगरपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षको लागि साबिक नगरसभाबाट पारित नीति तथा कार्यक्रम र संशोधित बजेटले नगरवासीका आवश्यकता परिपूर्ति भई जीवनस्तरमा सुधार आउने उपमेयर मीनाकुमारी लामाले
बताइन् । पूर्वाधार क्षेत्रर्फको चालु आवको बजेट ७६ करोड
२७ लाख ७ हजारको ५ सय ५८ वटा योजना रहेकोमा हालसम्म २९ करोड ४० लाख ८८ हजार
बराबरको ३ सय २५ वटा योजना सम्झौता भइसकेको छ ।
वाग्मती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र प्रदेशस्तरीय भौतिक पूर्वाधार निर्माणका लागि २० स्थानका सार्वजनिक एवं उपमहानगरपालिकाको स्वामित्वमा रहेका जग्गा उपलब्ध गराउने निर्णय भएको छ । व्यवस्थित बस टर्मिनल भवन तथा बसपार्क निर्माणका लागि ९३ करोड ११ लाख ५६ हजार बराबरको विस्तृत परियोजना प्रस्ताव तयार भइसकेको छ ।

 

वाग्मती प्रदेश

३ गाडी ठोक्किँदा ६ घाइते

- कान्तिपुर संवाददाता

धादिङ (कास)– बेनिघाट रोराङ–५ चरौंदी पुलमा तीन सवारीसधान ठोक्किँदा बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रका दुई चिकित्सकसहित ६ जना घाइते भएका छन् । स्याङ्जामा आयोजित स्वास्थ्य शिविरका लागि बा १ प ८९२ नम्बरको माइक्रोमा केन्द्रका १० जनाको समूह जाँदै थियो । जन्ती बोकेर काठमाडौंबाट स्याङ्जातर्फ जाँदै गरेको बा ८ ख ९४९२ नम्बरको बस अनियन्त्रित हुँदा उक्त माइक्रो र बा १ ख ६३० नम्बरको ट्रक पुलमा ठोक्किएका थिए । डा. जगन्नाथ पोखरेल, डा. विश्व पोखरेल, स्टाफ नर्स ललिता महर्जन र माइक्रो चालक शंकर कपाजीलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यालय गजुरीका इन्चार्ज नेत्रप्रसाद भट्टले बताए ।

वाग्मती प्रदेश

पर्यटन व्यवसायीलाई 'एसियन एक्सिलेन्स अवार्ड'

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङका पर्यटन व्यवसायी देवेन्द्र नेपालले ‘एसियन एक्सिलेन्स अवार्ड’ प्राप्त गरेका छन् । विभिन्न पाँच देशका पर्यटन व्यवसायीमध्ये उनी उत्कृष्ट व्यवसायी घोषित भएका हुन् । भारतको दिल्लीमा लाइभ २४ ले आयोजना गरेको कार्यक्रममा सिंगापुर, भियतनाम, मलेसिया, भारत र नेपालका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई अवार्ड दिइएको थियो । 

Page 5
उपत्यका

आगं छेँ पुनर्निर्माणमा बजेट अभाव

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौंको किलागल टोलको एउटा घर छ, आगं छेँ (आँगम घर) । इन्द्रजात्रामा देखाइने नाचको तयारीका लागि प्रयोग हुँदै आएको उक्त घरमा भूकम्पले क्षति पुर्‍यायो । देवी नाच प्रवर्द्धन तथा संरक्षण समितिले व्यक्तिको नाममा भएको पाँचतल्ले उक्त घर गुठीमा नाममा किनेको थियो । तर अहिले पुनर्निर्माणमा रकम अभाव भएको समितिले जनाएको छ ।
दी प्याँख (देवी नाच) का गुरू इन्द्र, मोहनकृष्ण, ब्रम्मु, मचाकाजीलगायतका महर्जनहरूले एक करोड ८५ लाख रूपैयाँ जुटाएर घर किनेका थिए । उक्त घरमा नाचको प्रशिक्षण र देवीदेवताको साधना हुँदै आएको छ । ‘घरधनीले आँगम घर बिक्री गर्न लागेका थिए । देवता साधन गर्न समस्या हुने भएकाले सम्पूर्ण गुठीयार जुट्यौं,’ समितिका अध्यक्ष इन्द्र महर्जनले भने, ‘चन्दा संकलन र ऋण सापटी गरी घर किन्यौं । तर, भूकम्पले चर्केको भवनको पुनर्निर्माण गर्न
पाँच करोड रूपैयाँ लाग्ने भएपछि हामी आत्तिएका छौं ।’
घर भत्किए पनि गुठीयारहरूले परम्परा जोगाउन गोरखाको मनकामना मन्दिर पुगेर समेत पूजाआजा गरी प्रसाद चढाए । ‘बेलैमा पुनर्निर्माण नसके इन्द्रजात्रामा पूजाआजा तथा नाच प्रशिक्षण दिन समस्या हुनेछ,’ उनले भने, ‘प्रत्येक वर्ष कच्चापदार्थको मूल्य बढ्दै जाने भएकाले समयमै पुनर्निर्माण गर्नुपर्ने चुनौती पनि छ ।’ पुनर्निर्माणका लागि उक्त घर गुठीयारको श्रमदानमा भत्काइसकिएको छ ।
आँगम घर तन्त्रमार्गीद्वारा देवता स्थापना गरिएको गुप्त कोठा हो । नाच मञ्चन गर्नुअघि देवगणहरूले अनिवार्य रूपमा देवता साधना गर्नुपर्छ । जुन आँगम घरमा गरिन्छ । तर, देवी नाचका गुठीयारले भने काठमाडौं महानगर–१८ स्थित एक व्यक्तिको स्वामित्वको पेगोडा शैलीको मन्दिरमा पूजा गर्दै आइरहेका थिए । अहिले नाचका बहुमूल्य मुकुट, गरगहना तथा पोसाक देवी नाचका कजी (व्यवस्थापक) नातिकाजी महर्जनको घरमा राखिएको छ । बाजागाजा भने ८६ वर्षीय गुरु इन्द्र महर्जनको घरमा व्यवस्थापन गरिएको छ । प्रत्येक वर्ष साउनमा चौथी पूजा गरेर एक महिना देवगण तालिम दिनुपर्ने चलन छ । त्यो पनि हाल गुरुकै घरमा सञ्चालन भइरहेको छ । उनीहरूले पारिश्रमिक भने पाउँदैनन् ।
आँगम घर पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको मेयर विद्यासुन्दर शाक्यले बताए । पुनर्निर्माणका लागि पाँच करोड खर्च हुने प्राविधिकले अनुमानित लागत निकालेका छन् । ‘सांस्कृतिक सम्पदा संरक्षण गर्न वडाबाट सक्दो सहयोग हुनेछ,’ काठमाडौं महानगर–१८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले भने ।

उपत्यका

बायाँ लेनमा जे देखियो

७ किलोमिटर पार गर्न एक घन्टा ५ मिनेट लाग्यो, छिट्टै आइपुगेको भन्दै चालक भने ‘खुसी’ देखिए
सूर्यविनायक–जडिबुटी
- सीमा तामाङ
सूर्यविनायक–जडिबुटी ६ लेन सडकखण्डको जडिबुटीमा भएको सवारी जाम । ट्राफिक प्रहरीले यो सडकखण्डमा यात्रुबाहक र मालबाहकलाई बायाँ लेन तथा निजी/साना सवारीलाई दायाँ लेनमा मात्र चलाउनुपर्ने नयाँ व्यवस्था बुधबारदेखि लागू गरेको छ । तस्बिर ः अंगद ढकाल/कान्तिपुर

(काठमाडौं) - भक्तपुरको सूर्यविनायकबाट शुक्रबार बिहान ९ बजेर ३० मिनेट जाँदा बा ५ ख ४९५३ नम्बरको बस गुड्यो । सूर्यविनायकको बस स्टपअगाडि एक ट्राफिक प्रहरी दायाँ–बायाँ लेनमा गुडेका सवारीसाधन नियालिरहेका थिए । चालक आफ्नै पारामा यात्रुसँग गफिँदै बस चलाउँदै थिए । सहचालकले गर्दा पनि सवारी दुर्घटना हुने गरेको र त्यस्तो अवस्थामा समितिले पनि नहेर्ने उनको भनाइ थियो ।
बस सल्लाघरीस्थित तीनकुने चोक आइपुग्यो । चोकमा ट्राफिक प्रहरी प्लेकार्ड बोकेर उभिइरहेका थिए । प्लेकार्डमा लेखिएको थियो– ‘बस, मिनीबस, ट्रक, टिपर र माइक्रोबस सधै बायाँतर्फमात्र चलाउनुहोस् ।’ यो दृश्य देखेपछि चालकले आक्रोशमिश्रित आवाजमा भने, ‘ट्राफिकले सार्वजनिक सवारीसाधनलाई मात्र कडाइ गर्छ, अरूलाई केही गर्न सक्दैन । चिट काट्न अनेक नियम ल्याउँछन् ।’
ट्राफिक प्रहरीले सूर्यविनायक–जडिबुटी सडकखण्डमा बुधबारदेखि ठूला सवारीलाई बायाँ लेनमा मात्र गुड्न दिनेगरी नियम लागू गरेको छ । चालक यो नियमदेखि रुष्ट देखिए । ‘जहिले ठूला गाडीलाई मात्रै नियम ल्याउने र दुःख दिने गर्छ,’ उनी भन्दै थिए । बस शखंधर चोक आइपुग्यो । १० मिनेट रोकेर यात्रु चढाइरहेका सहचालकलाई उनले भने, ‘ट्राफिक हेर है, देख्यो भने फेरि चिट काट्छ ।’ बस स्टपमा यात्रु ओराल्न र चढाउनमात्र पाउने नियम भए पनि ट्राफिक प्रहरीलाई छलेर चालकले गाडी रोक्ने गरेका छन् ।
ठिमी चोक र गट्ठाघर चोकमा पनि ट्राफिक प्रहरी प्ले कार्ड लिएर उभिएका थिए । एक जना सवारीसाधन गुड्ने लेन नियालिरहेका थिए ।
कौशलटार चोक आइपुग्दा पाँच मिनेट जाम भयो । लोकन्थली चोकसम्म आइपुग्दा चालक मोबाइलमा कुरा गर्दै एक हातले स्टेयरिङ चलाइरहेका थिए । लोकन्थलीमा पनि पाँच मिनेट जाममा फस्नुपर्‍यो । ‘आजकाल यहाँ पनि अटोमेटिक जाम हुन थाल्यो,’ उनले भने, ‘लेन पालना नगरी बाइक जता पनि छिर्दा जाम बढेको हो ।’ लोकन्थली चोकमै एक ट्राफिक प्रहरी आफ्नो लेनमा नगुडेका सवारीसाधनलाई रोक्दै लेन देखाएर सम्झाइरहेका थिए । बसलाई लोकन्थलीबाट जडिबुटीको पुल आइपुग्न २० मिनेट लाग्यो । ‘अफिस टाइममा यस्तै हो, जता पनि जाम,’ एक यात्रु भन्दै थिए, ‘सबैलाई
आफ्नो गन्तव्य पुग्नै हतार ।’ सूर्यविनायकबाट कोटेश्वर चोक आइपुग्दा १० बजेर ३५ मिनेट भएको थियो । सात किलोमिटर सडक पार गर्न एक घन्टा ५ मिनेट लाग्यो । अरू बेलाभन्दा छिट्टै आइपुगेको भन्दै चालक ‘खुसी’ देखिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूर्यविनायक–जडिबुटी ६ लेन सडकखण्डमा यात्रुबाहक र मालबाहकलाई बायाँ लेन र निजी/साना सवारी दायाँ लेनमा मात्र चलाउनुपर्ने नयाँ व्यवस्था लागू गरेको छ । सडक दुर्घटना न्यूनीकरणसँगै लेनलाई अनुशासित एवं व्यवस्थित रूपमा पालना गराउन, सवारी आवागमनलाई सहज बनाउन र ट्राफिक नियम पालना गराउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।
‘अहिले ट्राफिक नियम उल्लंघन गर्ने, सवारी दुर्घटना हुँदा, कागजपत्र नहुँदा चेकजाँच गर्ने चिट काट्ने गरिए पनि लेन अनुशासन पालना नगर्नेलाई अहिले जनचेतना जगाउने काममात्र भइरहेको हो,’ उनले भने, ‘केही समयपछि नियम नमान्ने सवारीलाई प्रहरीले एक हजार पाँच सयसम्म जरिवाना गर्न सक्नेछ ।’
उक्त सडकखण्डमा महाशाखाले ८० वटा जानकारीमूलक बोर्ड राखेको छ । लेन हुँदा पनि सवारी चालकले सही लेन प्रयोग नगरेको र लापरबाही तरिकाले लेन परिवर्तन गर्दा दुर्घटना बढ्दै गएको महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले पेस गरेको सुझावअनुसार लेनसम्बन्धी यस्तो व्यवस्था लागू गरिएको हो ।
समितिका अनुसार देशकै पहिलो ६ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक दुई सयको हाराहारीमा सवारी दुर्घटना हुने गरेको छ । उक्त सडक खण्डमा प्रतिमिनेट ५१ वटा मोटरसाइकल र २३ वटा चारपांग्रे सवारीसाधन गुड्ने समितिले जनाएको छ ।

उपत्यका

धावक महिलालाई महिनावारी कप

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ‘मीरा राई इनिसिएटिभ’ले ५० जना अल्ट्रा धावक महिलालाई महिनावारी कप वितरण गरेको छ । हङकङको ‘लुना नेचुरल्स’सँगको सहकार्यमा कप वितरण गरिएको हो । धावकहरूलाई कप प्रयोग गर्ने, भण्डारण गर्ने तरिका पनि सिकाइएको छ । ‘महिनावारी भएकै कारण बहिनीहरूले दौडबाट हतोत्साहित हुन नपरोस् भनेर कप वितरण गरेका छौ,’ अल्ट्रा धावका मीरा राईले बताइन् । ठमेलको आउटडोर एड्भेन्चर सेन्टरमा आयोजित कार्यक्रममा ९५ महिला सहभागी थिए । इनिसियटिभकी कार्यक्रम व्यवस्थापक सञ्जु जिसीका अनुसार कप सिलिकनबाट बनेको भएकाले शरीरमा कुनै असर पर्दैन । महिनावारी कप नै वितरण गर्नुमा मीराको कथा जोडिएको छ । ‘जब महिनावारी हुन्थ्यो, दौडनका लागि निकै गाह्रो हुन्थ्यो,’ मीराले भनिन्, ‘छालामा पास्थ्यो, म भनेजति दौडन सक्दिनथेँ ।’ विदेशी साथीले महिनावारी कपबारेमा थाहा दिएपछि मीराले पनि प्रयोग गर्न थालिन् । त्यसपछि उनलाई महिनावारीका बेला दौडन, तालिम र अभ्यास गर्न असहज भएन । ‘आफ्नो भोगाइले गर्दा बहिनीहरूलाई मेरो क्षमताले भ्याएको सहयोग र सचेतना गराउनुपर्छ भन्ने लागेर यो पहिलो प्रयास गरेकी हुँ,’ मीराले भनिन् ।

उपत्यका

पोखरी संरक्षण गर्ने समझदारी

- कान्तिपुर संवाददाता

काठमाडौं (रासस)– उपत्यकामा रहेका हिटी, पोखरीलगायतका परम्परागत पानीको स्रोत संरक्षण गर्न दुई नगरपालिका र काठमाडौं उपत्यका खानेपानी विकास बोर्डबीच समझदारी भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री बिना मगरको उपस्थितिमा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले समझदारीपत्रमा हस्ताक्षर गरे । मन्त्री मगरले उपत्यकामा रहेका खानेपानीलाई संरक्षणसँगै तिनलाई पहिलेकै स्वरूप देखिने गरी योजना बनाइएको बताइन् । महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठले कार्यविधि नै बनाएर पोखरीको नक्सांकन गर्ने काम भइरहेको जानकारी गराए । मध्यपुर नगरका प्रमुख श्रेष्ठले पोखरी संरक्षण र निर्माण ठेक्का सम्झौताबाट गर्न नहुनेमा जोड थिए ।

Page 6
विविधा

समाज नयाँ, ऐन पुरानो

 

२०३३ कात्तिक ४ गतेदेखि लागू हुनेगरी सामाजिक व्यवहार (सुधार) ऐन–२०३३, ल्याइयो । पञ्चायती व्यवस्थामा सार्वभौमसत्ता श्री ५ मा निहित भएको हुँदा संविधान, ऐन र नियमहरू जनताका आँखामा लगाउने पट्टीमात्र थिए । यो ऐन पनि त्यही पट्टी हो ।
अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । तर सामाजिक व्यवहार ऐन २०३३ को मूल स्वरूप जस्ताको तस्तै छ । न्याय प्रशासन ऐन–२०४८, गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन २०६६, केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने ऐन २०७२ र केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७४ को माध्यमबाट यस ऐनमा संशोधन भए पनि मूल रूपमा यस ऐनको संशोधन एकपटक पनि भएको छैन । यस ऐनको कार्यान्वयन र औचित्यको प्रभाव के छ भन्ने विषयमा यो लेख केन्द्रित छ ।

ऐनको उद्देश्य
ऐनको प्रस्तावनामा ‘सामाजिक व्यवहारमा भइरहेको र बढ्दो प्रतिस्पर्धात्मक भडक र फजुल खर्चमा नियन्त्रण गरी सुधार गर्ने’ उल्लेख गरिएको छ । सामाजिक व्यवहारलाई सरल र समान बनाउने तथा अनावश्यक खर्चमा नियन्त्रण गर्ने यस ऐनको मुख्य उद्देश्य हो ।
२१ दफा भएको यस ऐन र २०३३ मंसिर २१ गतेदेखि लागू भएको नियमावलीको मुख्य विषय छैठी, न्वारन, जन्मदिवस, पास्नी, व्रतबन्ध, विवाह लगायतका कार्यमा कति संख्यामा जमघट भई कतिसम्म खर्च गर्न पाउने भन्ने व्यवस्था छ । र, यस ऐन तथा नियमावलीको बर्खिलाप हुने कार्य गरेमा कसले, कसलाई, कस्तो दण्ड सजाय गर्ने भन्ने पनि छ ।
यस ऐन र नियमावली अनुसार विवाह हुँदा दुलही पक्षले कुनै नगदी वा जिन्सी लिन नहुने, दुलाहा पक्षलाई दुलहीको लागि गहना, कपडा, नगद, जिन्सी वा जेथा तोक्न नपाइने, दाइजो लिनदिन नपाइने, जन्तीलाई कुनै किसिमको नगद, जिन्सी, उपहार दिन नहुने, ५१ जनाभन्दा बढी जन्ती लैजान नपाइने, भोजभतेरमा नजिकका नातेदार सयजना र इष्टमित्र छरछिमेकी ५१ जना भन्दा बढी आमन्त्रण गर्न नपाइने लगायतका व्यवस्था छन् ।
त्यसैगरी छैठी, न्वारन, जन्मदिन, पास्नी, व्रतबन्धको भोजमा नजिकको नातेदार २५ जना र छरछिमेकी इष्टमित्र मध्येबाट २५ जना भन्दा बढीलाई आमन्त्रण गर्न पाइँदैन । यस्तो सामाजिक गतिविधिमा के गर्न हुने, के नहुने भन्ने अरु व्यवस्था यस ऐनमा छ ।
एक रुपैयाँभन्दा बढी राखी सम्धी, सम्धिनीलाई ढोगभेट गर्न हुँदैन । तीज पर्वमा दर पठाउँदा मिठाइ र फलफूल जस्ता चिजविजहरू सबैगरी दुई किस्तीभन्दा बढी पठाउन हुँदैन भन्ने कुरा पनि छ । मृत्यु उप्रान्त १३ दिनसम्म दान गर्दा चल–अचल चौपायसमेत गरी २ हजार रुपैयाँभन्दा बढीको दानदक्षिणा दिन हुँदैन । ऐनमा उल्लेखित यी कुराको कसैले उल्लंघन गरेमा प्रमुख जिल्ला अधिकारीले विषय र अवस्था अनुसार ३ देखि ४० हजार रुपैयाँसम्म जरिवाना र ३ दिनदेखि १ वर्षसम्म कैद गर्न सक्ने व्यवस्था छ ।

ऐन कार्यान्वयनको अवस्था
यस कानुन विपरीत कसैले कार्य गरेको सूचना पाउनासाथ स्थानीय तहले सम्झाइ–बुझाइ गर्ने र अटेर गरेमा स्थानीय प्रशासनलाई जानकारी दिनुपर्छ । प्रमुख जिल्ला अधिकारीले यस ऐन बमोजिम सजाय गर्ने हैसियत राख्छन् । साथै उनले सामाजिक व्यवहार गर्नेबाट खर्चको हिसाब माग गर्न पनि सक्छन् ।
ऐन विपरीत सामाजिक व्यवहार गरेका मितिले ३५ दिनभित्र प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी गर्नुपर्ने र यस्तो मुद्दामा सरकारवादी हुने व्यवस्था छ । कानुनमा व्यवस्था भए पनि व्यवहारमा प्रभावकारी ढंगले लागू भएको देखिँदैन । भोजभतेरमा देखिने जन्तीको लावालस्कर, जन्मदिन, पास्नी लगायतका विषयमा हुने भड्किलो व्यवहारले यस ऐनको पालना नभएको र यसबारे कानुन कार्यान्वयन गर्ने निकाय मौन बसेको देखिन्छ ।

ऐन सम्बन्धी संवैधानिक प्रश्न
यस ऐनको माध्यमबाट एउटामात्र धर्म–संस्कृतिलाई स्थापित गर्ने तत्कालीन पञ्चायती व्यवस्थाको ध्येय देखिन्छ । पहाड र तराईवासी बाहुनको संस्कृतिलाई मात्र यस ऐनले स्वीकार गरेको जस्तो देखिन्छ । वर्तमान संविधानको मूल मर्म संघीयता, लोकतन्त्र र धर्मनिरपेक्षता हो । हाम्रो समाज बहुजातिय र बहुधार्मिक छ । एउटा मात्र जात र धर्मलाई सम्बोधन गर्ने यो ऐन त्यसैले संवैधानिक दृष्टिले त्रुटिपूर्ण छ ।
सामाजिक जीवनमा आएको सकारात्मक सुधार आँखाले देखिने र व्यवहारले बुझिने हुनुपर्छ र यसको प्रतिविम्ब ऐनमा देखिनु पर्छ ।
विभेद सिर्जना गर्ने र विखण्डन ल्याउने प्रकृतिको यो ऐनले समाजमा सकारात्मक प्रभाव पार्न सक्दैन । समाजले अपनाउन नसकेको र कार्यान्वयनका लागि सरकारले मौनता साँचेको यस ऐनको मूल्यमाथि प्रश्न उठ्नु स्वाभाविक हो । सामाजलाई नियन्त्रणमा राखी पञ्चायती राजनीतिलाई नै बलियो बनाउने यस्ता खालका ऐनलाई निरन्तरता दिइराख्नु पर्दैन ।
विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, लिंग र भूगोल बीचको सुमधुर सम्बन्धलाई पनि सामाजिक व्यवहारमा व्यवस्थित गर्न आवश्यक छ । सामाजिक व्यवहार मुलुकको संस्कृति पनि हो । यसले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक व्यवस्थामा प्रभाव पारेको हुन्छ । हाम्रो समाजमा विद्यमान विभिन्न संस्कृतिको पहिचान गर्न आवश्यक छ र यसैको आधारमा ऐन अडिनुपर्छ ।
सबै जाति, धर्म, संस्कारलाई आ–आफ्नो रीतिरिवाज र परम्परा अनुसार पालना गर्ने जिम्मा स्थानीय तहलाई लगाउँदा यस सम्बन्धी ऐनको कार्यान्वयन प्रभावकारी हुनसक्छ । यस ऐनको समुचित समीक्षा गर्न सरकारले आवश्यक कदम चाल्नुपर्छ ।

ठगेन्द्र प्रकाश पुरी
पुरी राष्ट्रियसभा सदस्य हुन् ।

विविधा

बसाइँ–सराइको प्रभाव

संविधानले जनसंख्या व्यवस्थापनको कार्यलाई संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारीमा राखेको छ । नागरिकको गुणस्तरीय जीवनयापनका लागि अवसरहरूको वृद्धि गर्न संविधानमा भएका व्यवस्था र विभिन्न दीर्घकालीन योजना, कार्ययोजना र नीतिहरू कार्यान्वयनमा रहेका छन् । संघ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकारको कार्य विस्तृतीकरणले योजना, परिवार नियोजन र जनसंख्या व्यवस्थापनलाई संघ र प्रदेशको साझा जिम्मेवारीमा राखेको छ । व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँ–सराइ) सम्बन्धित तथ्याङ्क व्यवस्थापन गर्ने कार्य संघ, प्रदेश र स्थानीय तहको अधिकारको राष्ट्रिय कार्यसूचीमा रहेको छ ।
कुनै पनि स्थानको जनसांख्यिक आकार–प्रकार, स्वरूप र प्रकृति प्रभाव पार्ने महत्त्वपूर्ण घटनामध्ये बसाइँ–सराइ एउटा प्रमुख घटना हो । बसाइँ–सराइले गतिशील जनसंख्या र यसबाट सिर्जित हुने जनसांख्यिक मिश्रण तथा तत्पश्चात्को जनसांख्यिक रूप र प्रकारमा निकै प्रभाव पार्छ । यो क्रिया मानव जीवन सुरु भएदेखि नै चलिरहेको छ । यद्यपि सर्वमान्य रूपमा यसको परिभाषा गरिएको छैन । संयुक्त राष्ट्र संघको बसाइँ–सराइका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले आप्रवासी भन्नाले आफू अक्सर बसोबास गरेको स्थानबाट देशभित्रै वा विदेशको कुनै भूभागमा स्थायी वा अस्थायी रूपले विभिन्न कारणले सर्ने व्यक्तिलाई बुझाउँछ भनी परिभाषित गरेको छ । यही परिभाषाका आधारमा बासस्थान सर्ने प्रक्रियालाई बसाइँ–सराइ भन्न सकिन्छ । नेपालमा पनि बसाइँ–सराइ प्राचीन युगदेखि नै हुँदै आइरहेको छ । निरन्तर प्रक्रिया भए पनि पछिल्लो समय वैदेशिक रोजगारीले गर्दा अन्तर्राष्ट्रिय बसाइँ–सराइको आकार निकै बढिरहेको छ । साथै
बढ्दो सहरीकरण, सेवासुविधाको उपलब्धता, अर्थतन्त्रको क्रमिक संरचनात्मक परिवर्तन, सुरक्षा लगायत विविध कारणले आन्तरिक बसाइँ–सराइको आयतन निकै बढ्दै गएको छ । यसै सन्दर्भमा नेपालको आन्तरिक बसाइँ–सराइ अन्तर्गत अन्तर–प्रदेश बसाइँ–सराइको अवस्था तथा दिशा के कसरी प्रवाह भइरहेको छ भनी यस लेखमार्फत तथ्यांकीय विश्लेषण गर्न खोजिएको छ ।
नेपालमा सन् १९६१ को जनगणना आन्तरिक बसाइँ–सराइको पहिलो दस्तावेज मानिन्छ । त्यसपछि सम्पन्न सबै राष्ट्रिय जनगणनामा यस्ता विवरण लिएको पाइन्छ । राष्ट्रिय स्तरमा सञ्चालन गरिएका नेपाल जीवनस्तर सर्वेक्षण (सन् १९९५/९६ पहिलोदेखि २०१०/११ तेस्रोसम्म), नेपाल श्रमशक्ति सर्वेक्षण (१९९८ पहिलोदेखि २०१७/१८ तेस्रोसम्म) मा पनि बसाइँ–सराइको विवरण संकलन र प्रकाशन हुँदै आएको पाइन्छ । बसाइँ–सराइको मात्र छुट्टै सर्वेक्षण केन्द्रीय तथ्यांक विभागले आ.व. २०७४/७५ मा सञ्चालन गरेको भए पनि नतिजा भने प्रकाशन भएको छैन ।
राष्ट्रिय जनगणनासँग नेपाल जीवनस्तर सर्वेक्षण र नेपाल श्रमशक्ति सर्वेक्षणको बसाइँ–सराइको एकाइ पनि मेल खाने देखिँदैन । राष्ट्रिय जनगणनामा जिल्लाको सिमाना पार गरेको अवस्थामा मात्र बसाइँ–सराइ भएको मानिएको छ । तर जीवनस्तर सर्वेक्षण र श्रमशक्ति सर्वेक्षणमा तत्कालीन स्थानीय तहको सिमाना पार गरेको अवस्थालाई पनि बसाइँ–सराइ मानिएको छ ।


नेपाल श्रमशक्ति सर्वेक्षण तेस्रो नै मुलुकले संघीय शासनको अभ्यास गरेपश्चात् बसाइँ–सराइ सम्बन्धी पछिल्लो तथ्यांक उपलब्ध गराउने आधिकारिक स्रोत हो । यो सर्वेक्षण २०७४ जेठदेखि २०७५ असारसम्म सञ्चालन भएको थियो । यस सर्वेक्षणका अनुसार बासोबास परिवर्तन भई स्थानीय तहभन्दा बाहिर गएकालाई बसाइँ–सराइ गरेको मानिएको छ । सर्वेक्षणमा अपनाइएको परिभाषा अनुसार ‘सामान्यतया बसोबास भन्नाले ६ महिनादेखि बसोबास गरिरहेको स्थानलाई लिइएको छ । तर ६ महिनादेखि बसोबास गरिरहेको नभए पनि अब आउने कम्तीमा ६ महिना बस्ने सम्भावना भएको स्थान समेतलाई बसोबासको स्थान मानिएको छ ।’
नेपाल श्रमशक्ति सर्वेक्षणबाट दुई प्रकारका बसाइँ–सराइका विवरणहरू उपलब्ध हुन्छन् । पहिलो प्रकारको बसाइँ–सराइ जन्मस्थानका आधारमा हुने बसाइँ–सराइ हो भने दोस्रो हाल बसोबास गरिरहेको स्थानभन्दा पहिले बसोबास गरेको स्थानबाट भएको बसाइँ–सराइ हो । जन्मस्थानका आधारमा हुने बसाइँ–सराइ भनेको जन्मेको स्थान र हाल बसोबास गरिरहेको स्थानमा हुने भिन्नताको अवस्था हो । यसलाई ‘लाइफ टाइम माइग्रेसन’ भनिन्छ । त्यसैगरी हाल बसोबास गरिरहेको स्थानभन्दा बाहिर कम्तीमा ६ महिना बसेर आएको अवस्थालाई आवधिक बसाइँ–सराइ/‘पेरियोडिक माइग्रेसन’ भनिन्छ ।
बसाइँ–सराइले मानिसको जीवनका विविध पक्षमा गहिरो प्रभाव पारेको हुन्छ । मानिसका बानी–व्यवहार, आहार–विहार, भाषा, संस्कृति, सोचाइ, पेसाजस्ता वैयत्तिक पक्षमा बसाइँ–सराइले परिवर्तन ल्याउँछ । राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, वातावरणीय पक्षमा पनि बसाइँ–सराइको महत्त्वपूर्ण प्रभाव परेको हुन्छ ।


बसाइँ–सराइको तथ्यांक उपलब्ध गराउने नेपाल श्रमशक्ति सर्वेक्षण तेस्रोको आधारमा अन्तर–प्रदेश बसाइँ–सराइको अवस्था तालिका १ र तालिका २ मा प्रस्तुत गरिएको छ । जस अनुसार तालिका १ मा प्रदेश अनुसार ‘लाइफ टाइम माइग्रेसन’को अवस्था देखाइएको छ भने तालिका २ मा प्रदेश अनुसार आवधिक बसाइँ–सराइको आँकडा प्रस्तुत गरिएको छ ।
नेपालभित्र बसोबास गर्ने जनसंख्यामध्ये ८९.५१ प्रतिशतको जन्म आफू बसिरहेको प्रदेशमा नै रहेको देखिन्छ भने १०.४९ प्रतिशतको जन्म आफू बसेको प्रदेशभन्दा अन्यत्र भएको देखिन्छ । आफू बसिरहेको प्रदेशभित्र जन्मस्थान भएको जनसंख्या कर्णाली प्रदेशमा सबैभन्दा धेरै अर्थात करिब ९६.९४ प्रतिशत र वाग्मतीमा सबैभन्दा थोरै अर्थात् करिब ७८.२८ प्रतिशत रहेको देखिन्छ । जन्मस्थान विदेश भएको र हाल नेपालमा बसोबास गरिरहेको जनसंख्या जम्मा जनसंख्याको २.९२ प्रतिशत रहेको
देखिन्छ । यस्तो जनसंख्या प्रदेश २ मा सबैभन्दा धेरै अर्थात सो प्रदेशको जम्मा जनसंख्याको ५.०७ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा थोरै अर्थात सो प्रदेशको जम्मा जनसंख्याको ०.५७ प्रतिशत रहेको देखिन्छ ।  
पछिल्लो समय आवधिक बसाइँ–सराइ नगरेको जनसंख्या कुल जनसंख्याको ९३.४७ प्रतिशत छ । यसरी जनसंख्याको करिब ६.५३ प्रतिशत जनसंख्याले आवधिक बसाइँ–सराइ गरेको देखिन्छ । आवधिक बसाइँ–सराइ नगरेको जनसंख्या कर्णाली प्रदेशमा सबैभन्दा धेरै अर्थात सो प्रदेशको जनसंख्याको ९८.१३ प्रतिशत र वाग्मतीमा सबैभन्दा थोरै अर्थात करिब ८८.०२ प्रतिशत रहेको छ । नेपालमा आवधिक बसाइँ–सराइ गरी विदेशबाट आएको जनसंख्या नेपालको जनसंख्याको २.२१ प्रतिशत रहेको छ । अर्थात ६ लाख ४१ हजार २० व्यक्तिको यस अगाडिको बसोबास विदेशमा रहेको देखिन्छ ।
बाह्य तथा आन्तरिक बसाइँ–सराइ उच्च रहेको कारण जनसंख्याको वितरणमा असमानता बढ्दै गएकोले यसबाट आर्थिक उत्पादन र वितरणमा प्रत्यक्ष प्रभाव पर्न नदिन जनसंख्या तथा बसाइँ–सराइलाई अन्तरसम्बन्धित विषयको रूपमा व्यवस्थापन गर्नु अपरिहार्य हुन्छ ।
स्थिर संगठनात्मक संरचनाको आभाव हुनु, विस्तृत एवं खण्डीकृत तथ्यांकसहितको व्यवस्थापन सूचना प्रणाली स्थापना हुन नसक्नु, जनसांख्यिक लाभांशको रूपमा रहेको उत्पादनशील जनशक्तिको आन्तरिक बसाइँ–सराइ र बाह्य आप्रवासनले कृषि तथा गैरकृषि क्षेत्रको उत्पादनमा नकारात्मक प्रभाव पर्नु, विकासको असन्तुलित वितरण तथा जलवायु परिवर्तन, प्राकृतिक प्रकोपजस्ता कारणले मानिसको स्वस्फुर्त बसाइँ–सराइ प्रभावित भई जनसंख्याको वितरणमा प्रतिकूल प्रभाव पर्नु, तीव्र रूपमा बढ्दै गएको सहरीकरणलाई व्यवस्थित गर्न नसकिनु, जनसंख्या व्यवस्थापन, बसाइँ–सराइ, आप्रवासन र विकासबीच समन्वयात्मक रूपमा कार्यक्रमहरू सञ्चालन गर्न नसक्नु जस्ता समस्या यस क्षेत्रमा रहेका छन् ।
बसाइँ–सराइले सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा पारेका प्रभावहरूको समयमै विश्लेषण गरी बसाइँ–सराइलाई व्यवस्थित बनाउन जरुरी छ ।

णराज तिवारी
[email protected]

तिवारी केन्द्रीय तथ्याङ्क विझागका अधिकृत हुन् ।

विविधा

औँला होउन्जेल त च्याप्ने होला नि चुरोट !

 

एकजना शल्यचिकित्सक साथीले भन्नुभयो, ‘आजको अप्रेसन कस्तो नमज्जाको छ, साह्रै दुःखलाग्दो ।’
मैले भनेँं, ‘किन र ? रोग त नमज्जा नै हुन्छ नि ।’
साथीले भन्नुभयो, ‘हातको औंला काट्नु छ ।’
‘दुर्घटना भएको हो ?’
‘होइन, बर्जर्स डिजिज हो । औंला पुरै सुकेर कालै भइसकेको छ । एम्पुटेट (काट्ने) विना सम्भव छैन ।’
‘अनि हातको औंला किन नि ? खुट्टामा हुने होइन र ?’
‘त्यही त दुःखलाग्दो भनेको । खुट्टा त दुवै काटिइसकेको छ नि ।’
‘हे भगवान !’
‘त्यही त । पहिलो खुट्टाको औंला सुकेर कालो हुँदैखेरि सम्झाएको– चुरोट नखानुस् भनेर, मानेकै होइन ।’
‘चुरोटले नि हैरानै गर्‍यो । चुरोटले नै क्यान्सर हुने, चुरोटले नै दम हुने, मुटुको रोग, अरु के–के हो के–के ? हामी फिजिसियनकहाँ मात्र चुरोट सम्बन्धी धेरै समस्या आउँछ भनेको त तपाइँहरूकहाँ पनि त्यत्तिकै आउँदो रहेछ ।’
‘क्यान्सरको समस्या त धेरै आउँछ । तर यो बर्जर्स डिजिज पनि आइरहेछ ।’
बर्जर्स डिजिज भनेको खुट्टा, हातका मझौला र साना रक्तनलीहरू साँघुरिएर रक्तसञ्चार कम हुँदै जाने रोग हो । रक्तसञ्चार न्यून हुँदै जाँदा खुट्टा झम्झमाउने, औंलाहरू दुख्ने, चिसो हुने, छोएको थाहा हुन छाड्छ । रक्तनली ज्यादै साँघुरिएपछि रक्तसञ्चार बन्दै हुन्छ र सो रक्तनलीबाट रक्त प्रवाह हुने भाग मर्छ । तसर्थ मरेको भाग शरीरबाट छुट्याउनैपर्ने हुन्छ ।
यो रोगको प्रमुख कारण भनेकै चुरोट सेवन हो । जति पनि यस्तो रोगले सताएकाहरू आउँछन्, चुरोट सेवन गरेकै हुन्छन् । चुरोट सेवन र यो रोगको सम्बन्ध धेरै तथ्यले प्रमाणित गरिसकेको छ । र यो रोग अधिकांश पुरुषलाई हुन्छ ।
‘अनि खुट्टै काट्नुपर्दा पनि कसरी चुरोट छोड्न नसक्या त ?’
‘त्यही त । राम्ररी सम्झाएँ, विस्तारमा बुझाएँ, अर्को खुट्टामा पनि असर पर्ला भनी तर्साएँ, फेरि अप्रेसन गर्नुपर्ला भनी धम्क्याएँ । तर अहँ भएन ।
चुरोट छाडेन ।’
‘छाडेन है ?’
‘एउटा खुट्टा काटेको केही वर्षमा अर्को खुट्टाको समस्या लिएर आइपुग्यो । चुरोट खाँदै नखानु, यो औषधि लिंँदै गर्नु भनेर केही समय हेरियो ।’
‘अनि ?’
‘धेरै गाह्रो भयो डा.सा’ब, भन्दै आइपुग्यो । चुरोटको बारेमा सोध्यो– चुप लागेर बस्छ । परिवारका सदस्यले त्यहीं कराए– ‘कहाँ छोड्नु,
लुकीलुकी खाइरहेछ ।’
‘अनि सम्झाउनु भएन त फेरि ?’
‘भन्न त कति भन्नु । माने पो । दोस्रो खुट्टा नि काट्नैपर्‍यो । मरिसकेको भाग, काटेन भने माथिल्लो भागमा पनि इन्फेक्सन हुने डर ।’
‘हो नि, त्यो त एम्पुटेट त गर्नैपर्‍यो ।’
‘अब त चुरोट छोड्ला, समस्या नपर्ला भनेको, अस्ति फेरि हातको औंलामा समस्या लिएर आइपुग्यो । त्यो पनि त्यस्तै अवस्थामा ।’
‘हैट ! यो बानी भनेको पनि अत्ति नै के ।’
‘अनि तर्साउनु भएन ? यो अर्को अप्रेसन– के रे ? सिम्पाथेटेक्टोमी गर्नुपर्ने हुनसक्छ । त्यो अप्रेसन गर्दा यौन उत्तेजना नै नहुन सक्छ । यौन सम्पर्क नै गर्न नमिल्न सक्ने हुनसक्छ भनेर ।’
‘हे,’ त्यो पनि भनिसकेँं । चुरोटको लतमा, केही दिमागमा छिरेको जस्तो देखिंँदैन ।’
‘अब अहिलेको अप्रेसनपछि नि ?’
‘खोइ थाहा छैन । अर्को हातको चोरऔंला र माझीऔंला दुइटा होउन्जेल चुरोट च्याप्ने होला नि ।’
‘त्यसो नभन्नुस् । जसरी भए नि छोडाउनुस् ।’
‘हुन्छ कोसिस गर्छु । ल, म गएँ । अप्रेसनको तयारी भइसक्यो होला ।’
‘गुड लक ।’
सोच्दै बसेँं, ‘सर्जनलाई मात्र कहाँ सजिलो छ र ?’
आफ्नो बानी त कमसेकम सुधार्नुपर्‍यो नि रोगबाट बच्न ।
यहाँहरूले नि बुझ्नुभयो होला नि ?
चुरोट नखानेलाई बधाई । छोड्नेलाई धेरै बधाई । अरुलाई खान नदिनेलाई झन् धेरै बधाई ।
युवा उमेरकालाई सुरुवात नै गर्न रोक्ने जमातप्रति हृदयदेखि नै आभार ।
चिया पसल, रेस्टुरेन्ट, पसल जहाँकहीं पनि ‘नो स्मोकिङ’ क्षेत्र घोषणा गर्न हार्दिक अनुरोध ।

राजेन्द्र कोजु

Page 7
विविधा

संकटापन्न ब्वाँसो

- कमल मादेन

राजन अमिन, हेमसागर बराल र अन्यको नेपालको स्तनधारी वन्यजन्तुको अवस्थाबारे लेख ‘जर्नल अफ थ्रेटेन्ड ट्याक्सा’ भोलुम–१० अंक ३ (सन् २०१८) संस्करणमा छापिएको छ । त्यस अनुसार नेपालमा पाइएका २ सय १२ स्तनधारी वन्यजन्तु प्रजातिमध्ये ४९ प्रजातिको अवस्था खतरामा छ । तिनीहरू अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) को वर्गीकरण अनुसार लोपोन्मुख, संकटापन्न र अति संकटापन्न अवस्थामा क्रमशः १४, २६ र ९ प्रजाति छन् । आईयुसीएनको वर्गीकरणमा अति संकटापन्नपछि लोप हुने खुड्किलो आउँछ । यस अनुसार नेपालमा रहेका अति संकटापन्न ९ प्रजाति लोप हुने खतारमा छन् । ‘पिग्मी हग’ अर्थात् बामपुड्के बँदेल
नेपालमा केही दशक अघिबाट लोप भयो ।
आईयुसीएनले सन् २०१६ मा प्रकाशित गरेको जानकारी अनुसार थाइलासिन (अर्थात तास्मानियन टाइगर) विश्वमबाट लोप भएको छ । उक्त जनावर अष्ट्रेलियाको दक्षिण तास्मानिया टापुको जंगलमा मात्र पाइन्थ्यो ।
‘कन्जरभेसन साइन्स एन्ड प्राक्टिस’ जर्नलमा नरेश कुसी, क्लाउडियो सिल्लेरो–जुबिरी र अन्यद्वारा लेखिएको उच्च हिमाली भेगमा भइरहेको संकटापन्न वन्यजन्तु तथा मानव द्वन्द्वबारे लेख डिसेम्बर २०१९ संस्करणमा छापिएको छ । ‘पर्सपेक्टिभ अफ ट्राडिसनल हिमालयन कम्युनिटिज अन फोस्टरिङ को–इक्जिस्टेन्स विथ हिमालयन वल्फ एन्ड स्नो लियोपार्ड’मा हिमालयन वल्फ र हिउँ चितुवाप्रति स्थानीयको बुझाइ अवगत गराइएको छ । अघिल्लो वन्यजन्तु अति संकटापन्न र दोस्रो संकटापन्न सूचीमा सूचीकृत छ । यी २ जनावरले कहिलेकाहीं घरपालुवा चौपायालाई आहारा बनाउँछन् । स्थानीयले २ मध्ये हिमालयन वल्फलाई चाहिँ भेटेसम्म मार्ने गर्दारहेछन् । हिमालयन वल्फ वन्यजन्तु अध्ययन, अनुसन्धान तथा संरक्षण क्षेत्रमा उपेक्षामा छ । यस लेखमा यसैबारे चर्चा गरिंँदैछ ।

ब्वाँसो
प्राणी विज्ञानमा २ ‘ल्याटिनाइज्ड’ शब्दले प्रजाति र यस्ता ३ शब्दले उप–प्रजाति जनाउँछ । कार्ल लिन्नियसले सन् १७५८ मा कुकुरजस्तो तर खैरो रंगको ‘ग्रे वल्फ’लाई क्यानिज लुपस नामकरण गरे । ‘ग्रे वल्फ’ सम्बन्धी अनुसन्धानात्मक लेखहरूमा पृथ्वीको उत्तरी गोलार्द्धका कतिपय देशमा क्यानिज लुपस पाइने उल्लेख छ । तर नाम लेखिँदा प्रजाति नभई उप–प्रजाति लेखिएको हुन्छ । जस्तो— क्यानिज लुपस पालिप्स, क्यानिज लुपस चान्को । आईयुसीएनले २०१८ मा प्रकाशित गरेको जानकारी अनुसार उत्तर अमेरिका, युरोप र एसियामा क्यानिज लुपसका क्रमशः ५, २ र ३ वटा उप–प्रजाति पाइन्छन् ।
शान्तराज ज्ञवाली, हेमसागर बराल र अन्यद्वारा लिखित ‘द स्टेटस अफ नेपाल्स म्यामल्स ः द नेसनल रेड लिष्ट सिरिज’ (२०११) मा नेपालमा पाइने ‘ग्रे वल्फ’को वैज्ञानिक नाम ‘क्यानिज लुपस लुपस’ लेखिएको छ । पुस्तकमा नेपालमा यसको संख्या ३०–५० वटामात्र छन् भन्ने अनुमान छ । क्यानिज लुपस लुपस ग्रे वल्फ १९८५ मा प्रस्तावित गरेको एक उप–प्रजाति थियो । हिजोआज यसलाई ग्रे वल्फको एक उप–प्रजातिको पर्यायवाची मानिन्छ । मधु क्षत्री, यादवेन्द्रदेव भि. झाला र अन्यद्वारा लिखित ‘एन्सियन्ट हिमालयन वल्फ’मा नेपालमा पाइने ब्वाँसोको वैज्ञानिक नाम क्यानिज लुपस चान्को लेखिएको छ । लेख जुकिज जर्नलको अंक ५ सय ८२ संस्करणमा सन् २०१६ मा छापिएको हो । क्यानिज लुपस चान्कोलाई मंगोलियन वल्फ, चाइनिज वल्फ, तिब्बतीयन वल्फ र कोरियन वल्फ पनि भनिन्छ । यो कोरिया, उत्तर र मध्य चीन, मंगोलिया, भारत (हिमाचलदेखि कस्मीरसम्म) र रसियाको केही भूभागमा पनि पाइन्छ ।
जेराल्डिन वेरहान नेपालको उच्च हिमालय तथा मध्य एसियामा पाइने ग्रे वल्फ अध्ययन, अनुसन्धान गर्दैछिन् । उनको नेपालको उच्च हिमालय क्षेत्रमा पाइने ग्रे वल्फबारे ३/४ वटा अनुसन्धानात्मक लेख प्रकाशित भइसकेको छ । उनले पोल्यान्डमा २८–३० मे, २०१९ सम्पन्न क्यानिड स्पेसियलिष्ट ग्रुपको कार्यशालामा नेपालको उच्च हिमालय क्षेत्रमा पाइने ब्वाँसोको अंग्रेजी तथा वैज्ञानिक नाम क्रमशः हिमालयन वल्फ र क्यानिज लुपस हिमालयेन्सिस प्रस्ताव गरेकी थिइन् । वेरहाननको बुझाइमा हिमालयन वल्फको वंशाणु इन्डियन ग्रे वल्फ र तिब्बतीयन ग्रे वल्फको भन्दा केही फरक छ । भारतको समथर भूभाग लगायत दक्षिण–पश्चिम एसियामा पाइने ब्वाँसोको अंग्रेजी र वैज्ञानिक नाम इन्डियन ग्रे वल्फ र क्यानिज लुपस पालिप्स हो ।
माथि उल्लिखित क्यानिड स्पेसियलिष्ट ग्रुपको कार्यशालामा बेलायत, अष्ट्रेलिया, भारत, अमेरिका, तान्जानिया, फिनल्यान्ड, स्लोभेनिया लगायत आर्ययुसिनका विज्ञहरू उपस्थित थिए । उक्त कार्यशालाले नेपालको ब्वाँसोको अंग्रेजी नाम हिमालयन वल्फ मान्दा फरक नपर्ने जनाउ दियो । तर वैज्ञानिक नाममा भने अहिलेलाई क्यानिज लुपस हिमालयेन्सिसको साटो क्यानिज लुपस चान्को नै मान्नुपर्ने निष्कर्ष निकाल्यो । बेलायतका प्राणीविज्ञ जेई ग्रेले सन् १८६३ मा चीनबाट ल्याइएको जंगली कुकुरको नमुना जुन युरोपियन ग्रे वल्फजस्तै देखिने तर अलि फरक भएकाले त्यसलाई क्यानिज लुपस चान्को नामकरण गरेका थिए । चीनमा त्यसलाई चान्को र तिब्बतमा चान्गु भनिन्छ । क्यानिड स्पेसियलिष्ट ग्रुपले हिमालयन वल्फ एक छुट्टै उप–प्रजाति क्यानिज लुपस हिमालयेन्सिस ठहर गर्न थप केही जानकारी समेटिनुपर्ने धारणा अघि सारेको थियो । यसको अर्थ भोलिका दिनमा आणुवंशिक अध्ययन, अनुसन्धानबाट थप फरक तथ्य प्राप्त भए, नेपालको उच्च हिमाली भेगमा पाइने ग्रे वल्फ विश्वकै निम्ति एक नयाँ उप–प्रजाति सावित हुनसक्छ । त्यसपछि यसलाई वेरहानले प्रस्ताव गरे बमोजिम क्यानिज लुपस हिमालयेन्सिस भन्न मिल्छ । तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसूची–१ मा क्यानिज लुपसलाई संरक्षित वन्यजन्तु मानिएको छ । ब्राइन हड्सनले नेपालमा पाइएको ग्रे वल्फलाई सन् १८४७ मा क्यानिज ल्यानिगर उल्लेख गरेका थिए ।

कुकुरको पूर्वज
पृथ्वी उत्पत्तिदेखि अहिलेसम्मको अवधिलाई जम्मा ५ कल्पमा विभाजन गरिएको छ । त्यसमध्ये पछिल्लो कल्प नवजैविक कल्प हो । यसको पनि पछिल्लो करिब १०/११ हजार वर्षको अवधिलाई होलोसिन भनिन्छ । होलोसिनको सुरुको अवस्थामा पृथ्वीको पछिल्लो हिमयुग समाप्त भयो । त्यसपछि भू–सतहको तापमान बढ्न थाल्यो । मानिस घुमन्ते जीवन त्यागी खेतीपाती र पशुपालनतर्फ उन्मुख हुनथाले । त्यसबेला मानिसले थाहा पाए कि ग्रे वल्फ मानव चहल–पहल हुने ठाउँ नजिक बस्न रुचाउँछ । ती जनावरले मानिसले छाडेका खानेकुरा तथा मानव बिस्टा खाने गर्थ्यो । यसले साना तथा मझौला जनावर मारेर खान्छ ।
मानिसले ग्रे वल्फ चलाख भएका कारण त्यसको चतुराइ उपयोग गर्नसके फलदायी हुने ठानी त्यसलाई पाल्न सुरु गरे । ऊ बेला ग्रे वल्फलाई मूलतः सिकार गर्न सहयोगी र घरको पहरेदारी गर्न पाल्न सुरु गरिएको थियो । त्यसयता घरमा पालिएका ग्रे वल्फका सन्तानको बासस्थान, रहन–सहन आदि जंगलमै बसेको ग्रे वल्फको भन्दा पृथक भयो । कालान्तरमा जंगलको ग्रे वल्फ र घरमा पालिएकाहरू फरक स्वरूपमा प्रकट हुँदै गए । वन्यजन्तु वैज्ञानिकहरूले घरमा पालिएका कुकुरलाई तिनै जंगली ग्रे वल्फका एक उप–प्रजाति मानेर यसको वैज्ञानिक नाम क्यानिज लुपस फेमिलिअरिज दिएका छन् । ग्रेगर लार्सन र डोरिअन क्यु. फुलर लिखित ‘द इभोलुसन अफ एनिमल डोमेस्टिकेसन’ (२०१४) अनुसार मानिसले सबैभन्दा पहिले ग्रे वल्फलाई करिब ११ हजार वर्ष पहिलेबाट चीन तथा पश्चिम युरोपमा पाल्न सुरु गरेका थिए । त्यसपछि बिरालो, सुंँगुर, परेवा, कुखुरा पाल्न थालिएको हो ।
अवस्था नाजुक
नरेश कुसी, क्लाउडियो सिल्लेरो–जुबिरी र अन्यद्वारा लिखित ‘पर्सपेक्टिभ अफ ट्राडिसनल हिमालयन कम्युनिटिज अन फोस्टरिङ को–इक्जिस्टेन्स विथ हिमालयन वल्फ एन्ड स्नो लियोपार्ड’ अनुसार हुम्ला, डोल्पा र ताप्लेजुङमा हिमालयन वल्फ र हिउँ चितुवाबाट याक, जंगली गधा, घोडा, बाख्रा, भेडा, गाई, गोरु मारिँंदो रहेछ । हिउँ चितुवाले हिमालयन वल्फबाट भन्दा बढी घरपालुवा चौपाया आहारा बनाउँदो रहेछ । उल्लिखित लेख पढ्दै जाँदा हुम्ली र डोल्पालीले हिउँ चितुवा मार्नुहुन्न भन्ने जानकारी राखेको तर हिमालयन वल्फ मार्दा खासै फरक नपर्ने बुझाइ रहेको छ । उनीहरूले ४/५ तरिकाबाट हिमालयन वल्फ मार्दा रहेछन् । आक्कल–झुक्कल हिउँ चितुवा पनि मार्दा रहेछन् ।
अहिले हिउँ चितुवा संरक्षणप्रति सचेतना फैलाउने काममा राज्य र गैरसरकारी संस्था दुवैबाट उल्लेख्य काम भइरहेको छ । तर हिमालयन वल्फप्रति बेवास्ता छ । हिमालयन वल्फबारे अध्ययन, अनुसन्धान नै कम भएको छ । नेपालमा हिमालयन वल्फबारे २०१६ बाट मात्र अध्ययन, अनुसन्धानात्मक लेखहरू प्रकाशन हुनथालेको छ । वाइल्ड लाइफ फोटोग्राफर टासी घले अहिलेसम्म हिमालयन वल्फको ४/५ वटाको १ झुन्ड मुस्ताङमा १ पटकमात्र देखेको बताउँछन् । मधु क्षत्री र अन्यद्वारा लिखित ‘एन्सियन्ट हिमालय वल्फ’ (२०१६) लेखिए अनुसार उपल्लो मुस्ताङमा करिब ५ हजार मिटर उचाइमा हिमालयन वल्फ मे २०१४ मा केही पटक देखिएको थियो ।
पंक्तिकार २००९ अगष्टमा रुकुम र डोल्पा सीमा जोडिएको सुनदह नजिक (समुद्री सतहबाट ४५ सय मिटर भू–सतह उचाइमा) २ रात भेडीगोठमा बास बसेको थियो । भेडी गोठमा डरलाग्दा कुकुर पालिएका थिए । गोठाला भन्थे, ‘यत्रो कुकुर नपाले ब्वाँसोले भेडा सखाप पार्छ ।’ ब्वाँसो वर्षमा एकाध पटक आहार खोज्दै त्यता पुग्दोरहेछ । एकाध भेडी गोठालाले मरेको जनावरको सिनुमा विष लगाएर ब्वाँसो मार्ने गरेको किस्सा पनि सुनाए । ब्वाँसोले मानिसलाई दुःख दिए पनि त्यो प्रकृतिको अनुपम सम्पदा हो । अझ नेपालको हिमालयन वल्फ विश्वकै निम्ति एक नयाँ ग्रे वल्फको उप–प्रजाति हुनसक्ने सम्भावना छ । संघीय, प्रदेश र स्थानीय सरकारले राष्ट्रिय स्तरमै हिमालयन वल्फ जोगाउने एकीकृत कार्यक्रम तर्जुमा गर्नुपर्छ । यसप्रति यथोचित रूपमा संरक्षणमा ध्यान नपुर्‍याउने हो भने यसको हालत पनि निकट भविष्यमै बामपुड्के बँदेलको जस्तो हुनेछ ।

विविधा

यती जेबी

सिउँडी
- विमल निभा

 

वर्तमान सूचना एवं सञ्चारमन्त्री कमरेड गोकुलप्रसाद बाँस्कोटा प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीका बिछट्टै कृपापात्र थिए । त्यसकारण उनी प्रधानमन्त्री कमरेड ओलीका पकेट बुक संस्करण नै कहलाउँथे । वास्तवमा कमरेड बाँस्कोटाका सारा हावभाव, बोलीवचन र कामकाजले यसको दह्रो पुष्टि पनि गर्थ्यो । हो, उनी ससानो टाइपका कमरेड ओली नै थिए । यसको अर्थ प्रधानमन्त्री कमरेड ओलीलाई कुनै ठूलो साइजको कमरेड गोकुलप्रसाद भन्न खोजिएको चाहिँ होइन नि !
सम्भवतः प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको कोटको पकेटमा ठ्याक्कै अटाउने भएकोले कमरेड गोकुलप्रसाद बाँस्कोटालाई उनको पकेट बुक संस्करण भनिएको हो । यही साँचो हुनुपर्छ । त्यसउसले गाँठी कुरो प्रधानमन्त्री कमरेड ओलीको अन्तरंग पकेट हो । त्यसभित्रको एकथान जिनिस गोकुलप्रसाद होइन । जे भए पनि मलाईचाहिँ प्रधानमन्त्री कमरेड ओलीको सरकारी पकेटको सन्दर्भमा हठात् ‘यती’को स्मरण हुने गर्छ । मेरो तात्पर्य कुनै हिमालमा बसोबास गर्ने हिममानव यती नभएर एक समयको खासा चर्चित ‘यति पकेट बुक’ हो । त्यसबखत राजधानी, काठमाडौंबाट प्रकाशित ‘यति पब्लिकेसन’का पकेट बुकहरू बडो चाखपूर्वक पढ्ने गरिन्थ्यो । खास गरेर जासुसी उपन्यासहरू ।
जस्तै ः इन्टरनेसनल हत्यारा, डेढ फुटको गोली, ब्ल्याकमेलर प्रेमिका, खुनी नेकलेस, कारमा लास, डिटेक्टिभ युवती, अप्रेसन ब्लेंककेट, खतरनाक सुलसुले, ज्यानमारा महारानी, चौंसठ करोडको बंगला, रिवल्भरको कसम, पाइला–पाइलामा हत्या इत्यादि । झन्डै यस्तै–यस्तै टाइटलका सानो चिटिक्क परेको र चित्ताकर्षक कलेवरका पकेट बुकहरू । यसलाई राष्ट्रिय भाषाकरण गरिएर ‘यती जेबी’ पनि भनियो । यस्ता बहुतै लोकप्रिय ‘यती जेबी’का पुस्तकहरू बजारमा ल्याउने व्यक्ति थिए, डाक्टर हेमाङ्ग दीक्षित, ‘यती जेबी’का प्रमुख हर्ताकर्ता डाक्टर दीक्षित आफैं पनि एक कुशल जासुसी उपन्यासकार थिए । सायद ‘यती जेबी’बाट नै प्रकाशित एक जासुसी नोबेल थियो– होटल याङ्कीमा हत्या । यसको रचनाकार मेरा प्रिय मित्र प्रेम कैदी अथवा विजयकुमार चालिसेमध्ये कुनै एक थिए । (अहिले भुलेछु) । जे भए पनि उक्त जासुसी उपन्यासको रोमाञ्च, रहस्य र कौतुहलता गजबको थियो ।
‘यती पब्लिकेसन’बाट पकेट बुक मात्र नभएर ‘यती डाइजेस्ट’ पत्रिका पनि प्रकाशित हुने गर्थ्यो । (अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अंग्रेसी भाषाको पत्रिका ‘रिडर्स डाइजेस्ट’को पारामा) । यती पकेट बुक र यती डाइजेस्ट । यस प्रकार दोहोरो सफलताको भर्‍याङ छिटछिटो चढिरहेको थियो, यती पब्लिकेसन । एक किसिमले त्यो ‘यती’को जमाना थियो । यद्यपि अहिले पनि ‘यती’को जमाना गइसकेको भन्न मिल्दैन । अँ, यसको नवीन परिप्रेक्ष्य भने फेरिएर पुरै राजनीतिक भएको छ । तर किन हो कुन्नि, निष्कर्षचाहिँ अचम्मैसित आर्थिक निस्कने गरेको छ ! कुनै रहस्यमयी जासुसी आख्यानको लोमहर्षक क्लाइमेक्स जस्तो । (अद्भुत !) यही हो, बहुचर्चित व्यावसायिक फर्म ‘यति होल्डिङ्स प्रा.लि. र यसको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान कमरेड ओली सरकासँगको खुफिया लेनदेनको सम्पूर्ण यतीमयता । हँ, कतै यसैको लेटेस्ट सूचकांकको रूपमा ‘सत्तरी करोडको कमिसन काण्ड’ सतहमा आएको त होइन ?
हाल सत्तरी करोडका पकेट बुके कमरेड गोकुलप्रसाद बाँस्कोटाको असामयिक पटाक्षेप भइसकेको भए तापनि रंगमञ्चमा एकसेएक ‘यती डाइजेस्ट’हरू सशरीर मौजुदै छन् । यिनीहरूका जबर्जस्त डाइजेसन पावरको के बखान गर्ने ? अलिकति पाचन प्रणाली मन्द भएर कमरेड महासचिवले जरुर आठाना फिर्ता गर्नुपर्‍यो । तथापि महासचिव विष्णुप्रसाद पौडेलदेखि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसम्मका सकल कमरेड ‘यती डाइजेस्ट’हरूका साविक बमोजिमको यतीपनमा कुनै अन्तर आएको छैन । यति नै ।
यतीको कुरा यति नै भए पनि केही थपथाप ।
१. डेढ सप्ताह अघिसम्मका सूचना एवं सञ्चारमन्त्री कमरेड गोकुलप्रसाद बाँस्कोटा प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीका बालकोटस्थित घरबाट एक्कासी बाहिरिएका छन् ।
२. यहीबीच प्रधानमन्त्री कमरेड ओली आफ्नो तेह्रथुमको जन्मघरमा धुमधामले जन्मदिन मनाएर राजधानी, काठमाडौं फर्किएका छन् ।
३. तेह्रथुमको जन्मघरबाट फर्किएपछि प्रधानमन्त्री कमरेड ओलीले भूतपूर्व सूचना एवं सञ्चारमन्त्री बाँस्कोटालाई निर्दोष घोषित गरेका छन् ।
४. के प्रधानमन्त्री कमरेड ओली आफ्नो धर्मपुत्र सरहका कमरेड गोकुलप्रसादलाई तेह्रथुमको खाली घरमा बसाउने मनस्थितिमा त छैनन् ?

विविधा

महिला कोटामा 'क्लस्टर' किन ?

 

नेपाली समाज वर्णमा आधारित अनि पितृसत्तात्मक समाज हो । यसको कारण सामाजको समग्र विकासमा हामी पछाडि परेका छौं । १०४ वर्षको राणाशासन, पञ्चायती व्यवस्था र बहुदल व्यवस्थामा पनि महिला जीवनमा अपेक्षित परिवर्तन भएन । अझ मधेशी र अन्य सीमान्तीकृत समुदायका महिला पिँधमा नै छन् । इतिहासदेखि नै उच्च जात समुदाय र बलियो राजनीतिक पृष्ठभूमिका महिला नै राज्यको मूलधारमा पुगेका छन् ।
१९७४ सालमा दिव्यादेवी कोइराला, दुर्गादेवी दीक्षित, मेलवादेवी र योगमाया कोइरालाको संयोजकत्वमा पहिलो महिला समिति गठन भयो । २००४ सालमा मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको स्थापना भयो । त्यस्तै पुण्यप्रभादेवीको अध्यक्षतामा २००७ साल आसपास अखिल नेपाल महिला संघको स्थापना भयो । यिनै महिलाहरूले राणाको निरंकुश शासनमा राजनीतिक अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
२००७ सालमा प्रजातन्त्रको स्थापनापछि परिस्थिति खुकुलो भयो । र, महिला अधिकारवादी संगठनहरू सक्रिय हुनथाले । २००८ सालमा राजा त्रिभुवनले बनाएको ३५ सदस्य सल्लाहकार सभामा एकजना पनि महिला थिएनन् । यसैको विरोधमा महिला संगठन उत्रिए । फलस्वरुप २०११ सालमा पुनर्गठित सभामा चारजना महिलालाई प्रतिनिधित्व गराइयो ।
२०१५ सालमा सम्पन्न पहिलो प्रतिनिधिसभा निर्वाचनमा द्वारिकादेवी ठकुरानी विजय भइन् । १०९ सदस्यीय प्रतिनिधि सभामा विजयी उनी नै पहिलो महिला मन्त्री हुन् ।
त्यसबेला महिलाको आवाज मधुरो गरी राजनीतिमा आउँदै थियो । तर कस्ता पृष्ठभूमिका महिलाहरू अगाडि आइपुग्थे त ? मंगलादेवी गणेशमान सिंहकी धर्मपत्नी हुन् । साहना प्रधान पुष्पलाल श्रेष्ठको । उनीहरूको परिवार राजनीतिक थियो । सामाजिक गतिविधि र राजनीतिमा
प्रायः राजनीतिक पृष्ठभूमिका महिलाहरू नै अगाडि थिए ।
२०१५ सालको चुनावपछि पनि धेरै समाजिक र राजनीतिक आन्दोलन भए । तर स्थितिमा परिवर्तन आएन । २०४६ को जनआन्दोलनमा मधेशबाट सरिता गिरी, चित्रलेखा यादव, रेनु यादव लगायत महिलाहरू अगाडि आइपुगे । यी महिलाका परिवार राजनीतिक रूपमा शक्तिशाली थियो । अगाडि आइपुग्ने महिला उच्च जात र राजनीतिक परिवारका पृष्ठभूमिबाट बेसी थिए, छन् ।
त्यस आन्दोलनमा महिलाको भूमिका उल्लेखनीय थियो । त्यही आन्दोलनको बलमा बनेको २०४७ सालको संविधानले लिंगका आधारमा महिला र पुरुषलाई भेदभाव गर्नुहुन्न भन्ने मान्यताले कानुनी रूप पायो । प्रतिबन्धित महिला संगठनहरू पनि खुला भए । महिला सम्बन्धी गैरसरकारी संस्थाहरूले महिला चेतना, विकास र परिवर्तनका कार्य थालनी गरे ।
२०६२/०६३ को जनआन्दोलनपछि अन्तरिम संविधान २०६३ मा पहिलोपटक मधेशी, महिला, आदिवासी जनजाति, मुस्लिम, दलित लगायत अन्य अल्पसंख्यक, सीमान्तीकृतको राजनीतिक, संवैधानिक र सामाजिक अधिकार संविधानमा नै स्थापित भयो ।
नेपालको संविधान–२०७२ ले यी समुदायलाई राज्यको मूलधारमा ल्याउन आरक्षण तथा सामावेशी समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई आत्मसात् गर्‍यो । संघमा ३३ प्रतिशत, प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला आरक्षणको व्यवस्था गरिएको छ । आरक्षण र समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरी पिछडिएका जाति, समुदायको पहुँच, पहिचान, प्रतिनिधित्व गराउने विषय ठिक हो । २०६८ को जनगणाना अनुसार मधेश र पहाडका बाहुन समुदायको महिलाको साक्षरता दर ६०.३ प्रतिशत छ । दलित मधेशी महिलाको साक्षरता दर १२ प्रतिशतमात्र छ । साक्षरता दर नै १२ प्रतिशत भएपछि दलित महिलाले कसरी आरक्षणभित्र प्रतिस्पर्धा गर्छन् ?
२०६४ सालमा सम्पन्न संविधानसभा–१ को चुनावमा ९ जना मधेशी दलित महिलाले समानुपातिकबाट प्रतिनिधित्व गर्ने अवसर पाएका थिए । त्यसपछिको मन्त्रिपरिषदमा मधेशी लोकतान्त्रिक पार्टीकी रमणीदेवी राम र मधेशी जनअधिकार फोरमकी कलावती पासवान सहायक मन्त्री भएका थिए । त्यस्तै २०७० सालमा सम्पन्न संविधानसभा–२ को निर्वाचनमा ४ जना मधेशी दलित महिलाले समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गरेका थिए । तर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मधेशी दलित महिलाको उपस्थिति शून्य छ ।
प्रश्न उठ्छ, आरक्षण र समावेशी समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबाट को लाभान्वित छ ? मधेशी, दलित, मुस्लिम, जनजाति र खस–आर्य समुदायबाट आरक्षणमा कुन समुदायका महिला माथि पुगेका छन् ? तथ्यले खस/आर्य समुदायका महिलाले आरक्षणको फाइदा बढी लिएको देखिन्छ ।
प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ ले समानुपातिक निर्वाचनमा मधेशीका लागि १५.३ प्रतिशत र थारुका लागि ६.६ प्रतिशत सिटको व्यवस्था गरेको थियो । त्यस्तै मुस्लिमको लागि ४.४ सिटको व्यवस्था गर्‍यो । यसरी ‘क्लस्टर’हरू छुट्याइए । तर महिलाका लागि विभिन्न ‘क्लस्टर’ छुट्याइएन । यसरी ‘क्लस्टर’ नछुटिँदा मधेशी दलित, मुस्लिम र अन्य जनजातिका महिलाहरू पछाडि छुटे । ३३ प्रतिशतमा कति प्रतिशत खस/आर्य समुदायका महिलालाई, कति मधेशी दलित महिलालाई वा अन्य सीमान्तीकृत समुदायका महिलालाई भन्ने छुट्याउनेतिर ध्यान दिइएन ।
एक त पतृसत्तात्मक संरचनाले आम महिलालाई अघि आउन दिँदैन । त्यसमाथि सीमान्तीकृत समुदायका महिलालाई त झन् राजनीतिक दलले नै पेलेको छ । राजनीतिमा मधेशी दलित महिलाका आवाज कसले उठाउने ? निर्णय लिने कुर्सीमा पुरुष हुन्छ, कोही–कोही महिला पुगे पनि तिनीहरू दलित वा अन्य सीमान्तीकृत समुदायका महिला हुन्नन् । त्यसैले संविधानको मर्मलाई जीवित राख्न महिला आरक्षणमा छुट्याइएको कोटालाई थप ‘कलस्टरिङ’को आवश्यकता छ ।

संजुकुमारी सरबरिया

Page 8
स्वास्थ्य

दादुरा–रुबेलाबाट जोगिन दुईपटक खोप

पहिलो खोप लगाउँदा ८५ प्रतिशतसम्म र दोस्रोपटक लगाउँदा ९५ प्रतिशतसम्म संक्रमण रोकिन्छ
- अतुल मिश्र

(काठमाडौं) - धादिङमा हालै २७ जना बालबालिकामा बिमिरा, ज्वरोलगायतका समस्या देखियो । एक साताअघि मात्र उक्त ठाउँमा दादुराको प्रकोप देखिएको प्रमाणित भएको हो ।
खोपको माध्यमले संक्रमण रोक्न सकिने स्थिति हुँदाहुँदै पनि गत वर्ष मुलुकमा ४ सय २८ वटा दादुरा र करिब एक सयवटा रुबेलाका केस देखिए । खोपका माध्यमले जोगिन सकिने दादुरा र रुबेला अत्यन्तै संक्रामक रोग मानिन्छ । दादुरा (मिजल्स) ‘पारामिक्सोभाइरस’ परिवारमध्येको एउटा भाइरसले गर्दा हुन्छ । यसलाई ‘रुबेओला’ समेत भनिन्छ । तर यो ‘रुबेला’ भन्दा फरक हो ।
रुबेला पनि भाइरसबाटै हुने संक्रमण हो । यो ‘रुबेला’ भाइरसले गर्दा हुन्छ । जो ‘तागाविरदे’ परिवारको ‘रुबिभाइरस’ प्रजातिको हो । यो संक्रमण ‘जर्मन मिजिल्स’ को नामले समेत चिनिन्छ । दादुरा र रुवेला दुवै भाइरसका लागि हालसम्म कुनै विशिष्ट एन्टिभाइरल उपचार छैन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार सन् २०१८ मा दादुराले गर्दा विश्वभरिमा १ लाख ४० हजार जनाभन्दा बढीको मृत्यु भएको थियो । दादुराले गर्दा मृत्युवरण गरेका अधिकांश ५ वर्षमुनिका बालबालिका थिए । यस्तै सन् २०१८ मा विश्वको १ सय ५१ मुलुकमा १४ हजार ६ सय २१ रुबेलाको केस देखिएको थियो । रुबेलाको सबैभन्दा बढी संक्रमण अफ्रिका र दक्षिणपूर्वी एसिया क्षेत्रमा देखिएको हो ।
ज्वरोसँगै शरीरमा बाक्लो रूपमा बिमिरा देखिएमा दादुरा र पातलो रूपमा बिमिरा देखिँदा रुबेलाको आशंका गरिने औंल्याउँदै स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतम यो दुवै संक्रमणको लक्षणमा खासै अन्तर नदेखिने बताउँछन् । दादुरामा मृत्युदर जटिलता अलि बढी देखिन्छ भने रुबेलाको मृत्युदर अलि कम छ । हालसम्म दादुरा र रुबेला संक्रमणबाट बच्ने एकमात्र उपाय भनेको यो रोगविरुद्घको खोप नै हो ।
हाल ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकाका लागि दादुरा र रुबेलाको खोप अभियान फागुन र चैत महिनामा
मुलुकभरि जारी छ । यसको संक्रमण भए/नभएको पुष्टि प्रयोगशाला परीक्षणबाट समेत गरिन्छ । उसो त सामान्य रूपमा चिकित्साकर्मीले लक्षणको आधारमा पनि दादुरा र रुबेला रोगको पहिचान गर्न सक्छन् ।
दादुरा
छिटो सर्ने अति संक्रामक भाइरसले हुने दादुरा फैलिएपछि महामारीको रूप लिन सक्ने सम्भावना हुन्छ । मुख्य रूपमा ५ वर्षमुनिका बालबालिकामा यो संक्रमण देखिए पनि यो कुनै पनि उमेर समूहमा यसको संक्रमण हुन सक्छ ।
दादुराले ग्रस्त बालबालिकामा अन्धोपना, इन्सेफलाइटिस (मस्तिष्कज्वरो), कडा पखाला, कानको संक्रमण, श्वासप्रश्वासको कडा संक्रमण निमोनिया, कम्पन आदि देखिन सक्छ । यो रोगको संक्रमण भएपछि उत्पन्न जटिलताले गर्दा नै धेरैजसो बिरामीको मृत्यु हुने गरेको छ । दादुराले गर्दा हुने गम्भीर जटिलता ५ वर्षमुनिको बालबालिका र ३० वर्ष माथिका वयस्कमा बढी देखिने गर्छ । दादुराको पहिलो लक्षण सामान्यतः उच्च ज्वरो हो । डब्लूएचओका अनुसार, यो ज्वरो भाइरससँग सम्पर्क भएको १० देखि १२ दिनमा देखिन थाल्छ र ४ देखि ७ दिनसम्म रहन्छ । प्रारम्भिक अवस्थामा नाकबाट पानी बग्नु, खोकी, आँखा रातो हुनु र पानी बग्नुको साथै गाला र मुखभित्रको भागको रातो सतहमा सेतो दाग (कोपलिक स्पट) देखिन्छ ।
केही दिनपछि अनुहार र घाँटीको माथिल्लो भागमा रातो बिमिरा देखिन्छ । करिब ३ दिनपछि बिमिरा फैलिन थाल्छ र हात एवं खुट्टासम्म पुग्छ । बिमिरा ५ देखि ६ दिनसम्म रहेर विस्तारै मध्यम हुन थाल्छ । औसत रूपमा भाइरससँग सम्पर्क भएको १४ दिनपछि बिमिरा देखिन्छ । यो ७ दिन देखि १८ दिनसम्मसमेत देखिन सक्छ ।

रुबेला
रुबेला तीव्र रूपमा फैलिने सरुवा रोग हो । यो संक्रमणले बालबालिकामा मध्यम ज्वरो र बिमिरा आउने, आँखा पाक्ने समस्या, वाकवाकी आदि देखिन्छ । डब्लूएचओका अनुसार यो भाइरस शरीरमा प्रवेश गरेको २ देखि ३ साताभित्र रोगको लक्षण देखा पर्छ । लक्षणअन्तर्गत सबैभन्दा पहिले शरीरमा बिमिरा देखिनुका साथै ज्वरो घाँटीका ग्रन्थीहरू वृद्घि हुनेलगायतका लक्षण देखिन्छन् ।
बिमिरा करिब ५० देखि ८० प्रतिशत केसहरूमा देखिन्छ । बिमिरा अनुहारबाट देखिन सुरु भएपछि शरीरको विभिन्न भागअन्तर्गत खुट्टासम्म फैलिन्छ । यस्ता बिमिरा करिब १ देखि ३ दिनपछि आफैं हराउँछ । यो बिमिरा देखिएको १ देखि ५ दिनसम्म संक्रमितले सबैभन्दा बढी रोग सार्न सक्छ ।
संक्रमित वयस्क र त्यसमा पनि मुख्य रूपले महिलामा अर्थराइटिस र जोर्नीको दुखाइ ३ देखि १० दिनसम्म देखिन सक्छ । गर्भावस्थाको सुरुबाट रुबेलाबाट संक्रमित महिलाले भ्रुणमा यो संक्रमण सार्ने ९० प्रतिशत सम्भावना हुन्छ । तर गर्भावस्था त्यसमा पनि गर्भको पहिलो तीन महिनाको समय रुबेला संक्रमण हुँदा गर्भपात, मरेको बच्चा जन्मनु वा जन्मेको बच्चामा जन्मजात दोष (कन्जेन्टाइनल रुबेला सिन्ड्रोम) देखिन सक्छ । गर्भवती महिलामा रुबेला संक्रमणले बच्चामा जन्मजात दोषजस्तै मन्दबुद्घि, अन्धोपना, बहिरोपना, मुटुमा प्वाललगायत रोग देखिन सक्छ ।

उपचार
दादुरा र रुबेला रोगको कुनै विशिष्ट उपचार छैन । हाम्रो शरीरलाई आफैं यो संक्रमणविरुद्घ लड्नुपर्छ । संक्रमितलाई लाक्षणिक उपचार गरिन्छ । यसअन्तर्गत बिरामीमा उत्पन्न हुने लक्षण वा जटिलताको उपचार गरिन्छ ।
यसरी सर्छ दादुरा र रुबेला
यो दुवै रोग मुख, नाकबाट निस्किने
पानीका ससाना थोपाबाट एकअर्कामा सर्ने गरेको छ । मुख्य रूपले यो श्वासप्रश्वासका
माध्यमले सरे पनि बिरामीको नाक र मुखबाट निस्किने तरल पदार्थको सम्पर्कमा आउँदासमेत यो रोग लाग्छ । रोगले संक्रमित व्यक्तिको
घाँटी, नाकमा दादुरा उत्पन्न गराउने भाइरस रहन्छ । यसैले गर्दा बिरामीको मुख, नाकबाट निस्किने तरल पदार्थको सम्पर्कमा आउने व्यक्तिमा रोग सर्छ ।
एकजना खोप नलगाएका दादुरा संक्रमितले १६ जनासम्मलाई रोग सार्छ । डब्लूएचओका अनुसार, दादुरा उत्पन्न गराउने भाइरस हावा वा सतहमा दुई घण्टासम्म बाँच्न सक्छ । संक्रमित व्यक्तिले शरीरमा बिमिरा आउनुभन्दा ४ दिनअघिदेखि बिमिरा निस्केका ४ दिनपछिसम्म अरूलाई संक्रमित पार्न सक्छन् । भनिन्छ, दादुरा संक्रमित कुनै व्यक्ति कुनै कोठामा दुई घण्टा पहिले भएको अवस्थामा समेत त्यो कोठामा पुग्नेलाई श्वासप्रश्वासद्वारा संक्रमित हुन सक्ने खतरा रहन्छ ।

दादुरा–रुबेला खोप
मुलुकमा नियमित खोप कार्यक्रमअन्तर्गत सन् १९७९ देखि दादुरा खोप समावेश गरिएको हो । तर त्यसताका एकमात्र खोप दिइने गरिन्थ्यो । दादुराको खोप दिइए पनि मुलुकमा दादुराजस्तै देखिने संक्रमण देखिएपछि प्रयोगशाला परीक्षण गर्दा ‘रुबेला’ को संक्रमण देखिएको हो ।
यसपछि सन् २०१३ देखि दादुरासँगै
रुबेलाको खोपसमेत नियमित खोपअन्तर्गत दिन थालिएको डा. गौतम बताउँछन् । तर
त्यसताका सम्म ९ महिनाको उमेरमा एकपटक मात्र उक्त खोप दिइने गरिन्थ्यो । सन् २०१५
देखि दादुरा र रुबेला खोपको पहिलोसँगै दोस्रो मात्रासमेत नियमित खोप कार्यक्रमअन्तर्गत सुरु गरिएको हो ।
हाल राष्ट्रिय खोप तालिकाअनुसार, शिशु ९ महिनाको हुँदा दादुरा–रुबेला खोपको पहिलो मात्रा दिइन्छ भने १५ महिनाको हुँदा दोस्रो मात्रा दिइन्छ । ‘एक मात्रा खोप लगाउँदा ८५ प्रतिशतसम्म प्रभावकारिता रहन्छ भने दुई मात्रा खोप लगाउँदा ९५ प्रतिशतसम्म संक्रमणलाई रोक्दो रहेछ,’ डा.गौतम भन्छन्, ‘दादुरा र रुबेला खोप नियमित खोप कार्यक्रममा दिनुको साथै अभियान सञ्चालन हुँदासमेत दिनुपर्छ ।’

 

स्वास्थ्य

नवजात शिशुको श्रवण परीक्षण

आधुनिक वैज्ञानिक युगमा अनेकौं आविष्कारसँगै सबैजसो क्षेत्रमा धेरै काम कुराको सम्भावना बढ्दै गएको छ । विभिन्न मेडिकल प्रविधिको आविष्कारसँगै नवजात शिशुले सुन्न सक्छ कि सक्दैन भनी पत्ता लगाउन पनि सम्भव भएको छ ।
मानव कानको विकासको पूर्णता गर्भावस्थामा नै भइसकेको हुन्छ । जन्मनेवित्तिकै शिशुले सामान्य अवस्थामा सुन्न सक्ने हुन्छ । सन् १९८० मा आविष्कार भएको अटो एकाउस्टिक इमिसन (ओएई) टेक्नोलजीको प्रयोगबाट जन्मनेबित्तिकै शिशुले सुन्न सक्छ कि सक्दैन भनी पत्ता
लगाउन सम्भव भएको छ । ओएईले भित्री
कान (कक्लिया) ले काम गर्छ कि गर्दैन भनी परीक्षण गर्छ ।
अडिटरी ब्रेनस्टेम रेस्पोन्स (एबीआर) नामक परीक्षणले कानको सुनाइ शक्ति, सुनाइमा संलग्न भएको भित्री कानदेखि मस्तिष्कसँग जोड्ने नशामा भएका समस्या पत्ता लगाउन पनि सकिने अवस्था छ ।
एबीआर परीक्षणलाई पनि स्क्रिनिङका रूपमा प्रयोग गर्न सकिन्छ जसलाई अटोमोटिक एबीआर (एएबीआर) भनिन्छ । ओएई तथा एएबीआर मेसिन तथा प्रविधिबाट नवजात शिशुको सुनाइको परीक्षण गर्न सकिन्छ । यसरी परीक्षण गर्दा शिशुलाई कुनै किसिमको हानिनोक्सानी हुँदैन ।

नियोनेटल हियरिङ स्क्रिनिङ
कुनै खास तोकेको अस्पतालमा जन्म भएका सम्पूर्ण नवजात शिशुको सुनाइको परीक्षण गर्ने कार्यलाई ‘युनिभर्सल नियोनेटल हियरिङ स्क्रिनिङ कार्यक्रम’ भनिन्छ । अन्तर्राष्ट्रियजगत्मा सबैजसो विकसित राष्ट्रहरूमा यसको सुरुवात धेरै वर्ष पहिले नै भएको पाइन्छ । विस्तारै यो कार्यक्रम धेरै राष्ट्रमा सरकारी तवरबाट नियमित कार्यक्रममा राखेको पाइन्छ । शिशु जन्मेको करिब १ महिनाभित्र दुवै कानको सुनाइ ओएई वा एएबीआर प्रविधि वा दुवैको प्रयोगबाट गर्ने गरिन्छ । यो परीक्षण दुई चरणमा गरिन्छ ।

पहिलो चरणको परीक्षण
शिशु जन्मेको १२ घण्टापछि अस्पतालबाट डिस्चार्ज हुनुअगाडि ओएई वा एएबीआर वा दुवैबाट गरिन्छ । यसमा दुवै कानको परीक्षण दुई–दुई पटक गरिन्छ । पहिलो चरणको परीक्षणबाट सुनाइ सामान्य भएमा अरू परीक्षण गरिँदैन ।

दोस्रो चरणको परीक्षण
पहिलो चरणको परीक्षणमा शंकास्पद नतिजा आएमा वा सुनाइमा कमी वा नसुनेको जस्तो लागेमा दोस्रो चरणको परीक्षण गरिन्छ । यो परीक्षण पहिलो चरणको परीक्षणको करिब एक महिनापछि गरिन्छ । यसमा पनि पहिलो चरणको परीक्षणमा जस्तै ओएई वा एएबीआर वा दुवैको प्रयोगबाट जाँच हुन्छ । यसपटक पनि दुवै कानको परीक्षण दुई–दुई पटक गरिन्छ । यो परीक्षणमा सामान्य देखिएमा ‘पास’ वा सामान्य नदेखिएमा ‘रेफर’ कोड गरिन्छ । ‘रेफर’ भएमा कानको सम्पूर्ण आवश्यक जाँच गरेर सुनाइ शक्तिको यकिन गर्नका लागि अडियोलोजिस्टकोमा रेफर गरिन्छ ।

हेयरिङ स्क्रिनिङको आवश्यकता किन ?
नेपालजस्तो विकासोन्मुख राष्ट्रमा नवजात शिशुले सुन्न सक्ने वा नसक्ने कुरा शिशुको उमेर करिब २ वर्ष पुगेपछि वा बोली तथा भाषाको विकास नभएपछि मात्र थाहा पाउँछन् । यो समयमा शिशुको विकासमा धेरै पछाडि परिसकेको हुन्छ । यदि समयमा नै सुनाइको समस्या पत्ता लगाउन सकेको खण्डमा समयमा नै यसको उपचार गर्न सकेमा शिशुको विकासलाई सामान्य बनाउन सकिन्छ । कानको सुनाइ कम भएका शिशुलाई सामान्य बनाउनका लागि आवश्यकताअनुसारको श्रवण यन्त्र (हियरिङ एड) समयमा लगाइदिएमा अन्य वृद्धि विकासलाई पनि सामान्य बनाउन सकिन्छ । पटक्कै कान नसुनेका शिशुलाई समयमा नै कक्लियर इम्प्लान्ट प्रयोग गरी अन्य तालिम दिई सामान्य व्यक्तिका रूपमा परिवर्तन गर्न सकिन्छ । कानको बाहिरी भागको मात्र विकास नभएको अवस्थामा पनि विभिन्न अत्याधुनिक श्रवण यन्त्रहरूजस्तै ‘बाहा’ ‘बोन ब्रिज ’ ‘साउन्ड आर्क’ ‘एडेयर’ जस्ता उपकरणको प्रयोगबाट सुनाइ सामान्य बनाउन सकिन्छ ।

स्क्रिनिङ कार्यक्रम सञ्चालनमा चुनौती
१) पर्याप्त अत्याधुनिक मेसिनको जरुरत
२) पर्याप्त प्राविधिक जनशक्तिको आवश्यकता
३) थप प्रशासनिक जनशक्तिको आवश्यकता
४) दुई चरणमा गरिनुपर्ने परीक्षण भएकाले अभिभावकले बच्चालाई दोस्रो चरणको परीक्षण गर्न नचाहने वा नसक्ने अवस्था
५) राम्रो रेकर्ड किपिङको व्यवस्था तथा भविष्यमा आवश्यक परेको समयमा सही आँकडा उपलब्ध गराउन सक्ने व्यवस्था गर्ने ।
अन्त्यमा, नियोनेटल हियरिङ स्क्रिनिङले सुनाइको समस्या भएका नवजात शिशुको पहिचान गर्नमा सहयोग गर्दछ र समयमा नै अन्य डायगोनोस्टिक श्रवण परीक्षण गर्नुपर्ने/नपर्ने यकिन गर्दछ । यस किसिमको स्क्रिनिङ कार्यक्रम सरकारको नियमित कार्यक्रममा समावेश गरेर नेपालभर लागू गर्नुपर्छ । यस कार्यक्रमबाट सुनाइको कमी भएका वा सुन्न नसक्ने शिशुको पहिचान भएपछि ती बालबालिकाहरूको आवश्यक उपचार गर्नमा पनि नेपाल सरकारबाट नीति तथा योजना बनाउन जरुरी छ ।
(डा. प्रधानांग त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका नाक–कान–घाँटी विभागमा कार्यरत छन् ।)

विश्व श्रवण दिवस

स्वास्थ्य

चनाका फाइदै–फाइदा

- कान्तिपुर संवाददाता

चनाले शरीरमा तागत उत्पन्न गर्ने, भोजनमा रुचि पैदा गर्ने मानिन्छ । आयुर्वेदका अनुसार, यो न्यानो प्रकृतिको हुन्छ । चनाले शरीरलाई चुस्तदुरुस्त राख्छ । रगतमा जोस उत्पन्न गर्छ । यो कलेजोका लागि लाभदायक मानिन्छ । यसले रगतलाई सफा गर्छ, धातु बढाउँछ र आवाजलाई सफा पार्छ । यो रगतसम्बन्धी विकारका लागि लाभदायक मानिन्छ । यसले पिसाब खुलाउन मद्दत गर्छ । चनालाई पानीमा भिजाएर चपाउनाले तागत आउँछ ।
चना मुख्यतः किशोर युवा र शारीरिक मिहिनेत गर्नेहरूका लागि पौष्टिक खाजा हो । चनालाई भिजाएर वा अंकुरित गरी नियमित रूपमा बिहान सेवन गर्नाले शरीर स्फूर्तिवान् र शक्तिशाली हुन्छ । अंकुरित चना धेरै लाभप्रद मानिन्छ । अंकुरित चना धातुलाई पुष्ट, मांसपेशीलाई सुदृढ र शरीरलाई बलियो बनाउने प्राचीन मान्यता छ । यसको सेवन छालाको रोगमा समेत लाभदायक मानिन्छ ।
भिटामिन ‘सी’ को मात्रा बढी भएको चनाले तौल बढाउँछ । रगत वृद्घि गर्नुको साथै त्यसलाई सफासमेत गर्छ । यसबाहेक अंकुरित चना सेवनले फोक्सो बलियो बनाउने मान्यतासमेत छ । यो रगतमा कोलेस्ट्रेलको मात्रा कम गरेर मुटुको रोग हटाउनसमेत सहायक मानिन्छ । कब्जियतको समस्या भएकाहरूका लागि चना राम्रो मानिन्छ । अंकुरित चना नियमित सेवनले यो निको हुन्छ ।
बच्चालाई महँगो बदामको सट्टा कालो चना ख्वाउनाले उनीहरू स्वस्थ रहन्छन् । एउटा अन्डामा हुने एक ग्राम प्रोटिन र ३० क्लालोरी शक्तिभन्दा सोही मूल्यको कालो चनामा ४१ ग्राम प्रोटिन र ८ सय ६४ क्यालोरी प्राप्त हुन्छ ।

स्वास्थ्य

मस्तिष्कका लागि योग

- कान्तिपुर संवाददाता

यदि तपाईं कुनै कारणले शारीरिक (एरोबिक) व्यायाम गर्न सक्नुहुन्न भने आफ्नो मस्तिष्कको स्वास्थ्यमा सुधार गर्न योग गर्न सक्नुहुन्छ । हालै गरिएको एउटा अध्ययनअनुसार योग मस्तिष्कको त्यही खण्ड र कार्यलाई फाइदा पुर्‍याउँछ, जो शारीरिक व्यायामभन्दा राम्रो हुन्छ । यो अध्ययन ब्रेन प्लास्टिसिटी जर्नलमा प्रकाशित छ । अनुसन्धान योग र मस्तिष्कको स्वास्थ्यमा आधारित ११ अध्ययनमा आधारित छ । अध्ययनमा योग गर्नेहरूमा ‘हिप्पोक्याम्पस’ को आयातनमा वृद्घि देखियो । यस्तै वृद्घि थुप्रै अध्ययनमा शारीरिक व्यायाम गर्नेहरूमा देखिएको छ । हिप्पोक्याम्पस स्मरणशक्तिको प्रशोधन (प्रोसेसिङ) मा सम्मिलित हुन्छ र उमेरसँगै खुम्चिन्छ । अध्ययनअनुसार डिमेन्सिया र अल्जाइमरमा यही खण्ड सबैभन्दा पहिले प्रभावित हुन्छ । नियमले योग गर्नेमा ‘प्रिफ्रन्टल’, ‘एमिग्डाला’, कर्टेक्स र ब्रेन नेटवर्कजस्तो मस्तिष्कको थुप्रै संरचना योग नगर्नेको दाँजोमा ठूलो देखियो । उसो त अध्ययनकर्ताले यो विषयमा थप अध्ययनको आवश्यकतासमेत औंल्याएका छन् ।

स्वास्थ्य

गर्भावस्थामा सुताइको असर पर्दैन

- कान्तिपुर संवाददाता

हालै गरिएको एउटा अध्ययनअनुसार गर्भावस्थामा देब्रे कोल्टो सुत्दा कुनै खास फाइदा हुँदैन । अर्थात् गर्भावस्थामा आमाको सुत्ने स्थितिले शिशुको स्वास्थ्यमा कुनै असर हुँदैन । यतिसम्म कि गर्भधारणको पहिलो तीन महिनामा गर्भवतीको सुत्ने स्थितिको नवौं महिनामा कुनै असर हुँदैन ।
उताह विश्वविद्यालयद्वारा ६ महिनासम्म ९ हजार गर्भवती महिलाको सुत्ने तरिकाको विश्लेषण गरेर यो अध्ययन गरिएको हो । अध्ययनमा गर्भावस्थाको ३० साताभन्दा पहिलेको महिलालाई सामेल गरिएको थिएन । अध्ययनमा के पाइयो भने, जसले दाहिने कोल्टो वा उत्तानो अवस्थामा सुत्न रुचाए, उनीहरूमा उच्च रक्तचाप, मृत शिशुको जन्म वा शिशुको आकार सानो हुनुजस्ता गम्भीर समस्याको जोखिम देब्रे कोल्टो सुत्ने महिलाको दाँजोमा बढी थियो ।

स्वास्थ्य

एन्टिबायोटिकले 'पार्किन्सन' को खतरा

- कान्तिपुर संवाददाता

यदि तपाईं बढी मात्रामा एन्टिबायोटिक औषधिको उपयोग गर्नुहुन्छ भने सावधानी अपनाउनुस् । हालै गरिएको एउटा अध्ययनले एन्टिबायोटिक औषधि र पार्किन्सन रोगबीच सम्बन्ध देखिएको छ । यो अनुसन्धान ‘मुभमेन्ट डिजअर्डर’ मा प्रकाशित भएको हो । अनुसन्धानअनुसार यो रोगको सम्बन्ध आन्द्रामा हुने फाइदाजनक जीवाणुको नष्ट हुनेसँग हुन सक्छ । फिनल्यान्ड विश्वविद्यालयको विशेषज्ञसहित अनुसन्धानकर्ताले सन् १९९८ देखि सन् २०१४ सम्म राष्ट्रिय रजिस्ट्रीमा दर्ता गरिएका पार्किन्सन बिरामीका करिब १४ हजार रोगीसँग सम्बन्धित तथ्यांकलाई विश्लेषण गरे । अनुसन्धानअनुसार केही एन्टिबायोटिकको उपयोगले पार्किन्सन रोगको खतरा बढ्छ । अध्ययनबाट के थाहा पाइयो भने, आन्द्राको ‘माइक्रोबायोटा’ लाई प्रभावित गर्ने र सामान्यतः उपयोग हुने केही एन्टिबायोटिक खतराको कारण बन्न सक्छ ।

स्वास्थ्य

चुम्बनले फैलिन सक्छ गोनोरिया

- कान्तिपुर संवाददाता

हालै गरिएको एउटा अध्ययनको दाबीअनुसार चुम्बन गर्दा यौन सञ्चारित रोग गोनोरिया फैलिन सक्छ । ३६ सय पुरुषमा गरिएको यो अध्ययन ‘द लान्सेट’ जर्नलमा प्रकासित छ । यो रोग पुरुष र महिलाको प्रजनन मार्गको माध्यमले वा यौनक्रियाको समय फैलिन्छ । यसले मूत्रमार्गबाहेक घाँटी र गुद्वारलाई समेत नराम्र्ररी प्रभावित गर्छ । यो अध्ययन यस्तो पुरुषमा गरियो जसले मार्च २०१६ देखि १२ महिनाको समयमा पुरुषसँग यौनसम्बन्ध राखे । यसको परिणाम देखियो कि, ती व्यक्तिमा गोनोरियाको जोखिम बढी थियो, जो मात्र पार्टनर लाई चुम्बन गर्छन् । जब कि ती व्यक्तिमा यो रोगको अत्यन्त खतरा देखियो, जसले चुम्बन गरेपछि यौनसम्पर्कसमेत गर्छन् । मात्र यौनसम्पर्क गर्ने व्यक्तिमा यो रोगको खतरा थिएन ।

Page 9
विदेश

कम्पनी छोडेका कामदारलाई समय थप

- गोकुल थोकर तामाङ

(दक्षिण कोरिया) - रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरिया आएर कम्पनी छोडेकाले नयाँ कम्पनी खोज्न थप समय पाउने भएका छन् । कोरोना भाइरसको संक्रमण (कोभिड–१९) का कारण कामदारले नयाँ कम्पनी नपाएपछि थप दुई महिना उपलब्ध गराइने भएको हो ।
ईपीएस प्रणालीमा रहेका कामदारले एउटा कम्पनी छोडेपछि तीन महिनाभित्र अर्को कम्पनीमा काम गरिसक्नुपर्ने नियम छ । निर्धारित समयमा नयाँ कम्पनीमा काम नगरे स्वतः अवैधानिक हुने भए पनि कोभिड–१९ संक्रमणका कारण फेब्रुअरी २८ देखि अप्रिल ३० भित्र ३ महिना कटे पनि
कारबाही नहुने दक्षिण कोरियाली न्याय मन्त्रालयले जनाएको छ ।
काम छोडेका कामदारलाई नोदोम्बो (जब सेन्टर) ले नयाँ कम्पनीको म्यासेज पठाउने गर्छ । कोरोनाको संक्रमण बढेसँगै नयाँ म्यासेज थोरै आएका छन् । म्यासेज पठाएका कम्पनीले पनि नयाँ मान्छे नराखेकाले काम छोडेर बसेका नेपालीले समस्या भोगिरहेका छन् ।
‘हामीले कोरोनाका कारण तीन महिनाभित्र कम्पनी खोज्न समस्या भयो भनेर केही समयअघि एआरडी कोरियालाई पत्र पठाएका थियौं । बिहीबार उनीहरूले थप दुई महिना समय कम्पनी खोज्न दिएको जानकारी हामीलाई दिएका छन्,’ सोलस्थित नेपाली राजदूतावासका श्रम सहचारी डिल्लीराम बाँस्तोलाले भने, ‘यसबाट अहिले कम्पनी छाडेर बसेका नेपाली लाभान्वित हुने छन् । पछिल्लो निर्णय नेपाललगायत ईपीएसबाट कोरिया आउने १६ देशकै कामदारलाई लागू हुनेछ ।
कोभिड–१९ संक्रमण बढ्दै जाँदा कोरियाका धेरै कम्पनीमा काम घटेको छ । केही कम्पनीमा चीनबाट कच्चा पदार्थ आउने भएकाले ती कम्पनी बन्द भएका छन् । कामको अभाव भएसँगै केही कम्पनीले कामदार संख्यामा कटौती गरेका छन् भने केहीले बेतलबी छुट्टी दिएका छन् । बुधबार ५ सय ७१ कोरोना संक्रमित पुष्टि भएको कोरियामा बिहीबार उक्त संख्या बढेर २ हजार ३ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड–१९ ले दक्षिण कोरियामा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ ।

विदेश

१८९ महासन्धि स्वीकार गर्न दबाब दिने प्रतिबद्धता

- होम कार्की
ढाकामा आयोजित नेपाल, बंगलादेश र श्रीलंकाका सांसदको बैठकले गरेका प्रतिबद्धताबारे जानकारी दिइँदै । तस्बिर ः होम/कान्तिपुर

(ढाका) - घरेलु कामदारको मर्यादित श्रमलाई सुनिश्चित गर्न अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा ९ वर्षअगाडि जारी १८९ महासन्धि स्वीकार गर्न स्रोत देशका सांसदले सरकारलाई दबाब दिने प्रतिबद्धता जनाएका छन् । सन् २०११ मा आईएलओको अन्तर्राष्ट्रिय सम्मेलनले यसलाई स्वीकार
गरेको थियो ।
खाडीमा ठूलो संख्यामा घरेलु कामदार पठाउँदै आएका नेपाल, बंगलादेश र श्रीलंकाका सांसदहरूले ढाकामा आयोजित दुईदिने बैठकमा यस्तो प्रतिबद्धता जनाएका हुन् । उनीहरू घरेलु कामदारको सुरक्षा र हितको क्षेत्रमा काम गर्नका लागि ‘ककस’ बनाउनसमेत तयार भएका छन् । कामदार पठाउने देशले आईएलओ १८९ महासन्धिमा हस्ताक्षर गरेपछि मात्रै कामदार लिने देशलाई बाध्यकारी बनाउन सकिने भन्दै सांसदहरू आ–आफ्नो सरकारलाई दबाब बढाउन सहमत भएका हुन् ।
१८९ महासन्धिमा हस्ताक्षर गर्ने देशले घरेलु कामदारको विशेष सुरक्षाका लागि राष्ट्रिय नीति तथा कानुन बनाउनुपर्ने हुन्छ । यो कानुन बनाएपछि आईएलओलाई कार्यान्वयनको अवस्थाबारे नियमित प्रतिवेदन बुझाउनुपर्छ । ‘घरेलु कामदारको सुरक्षा गर्नु सरकारको अनिवार्य दायित्व हो, यो एउटा मात्रै देशले हस्ताक्षर गरेर हुँदैन, जुन–जुन देशले खाडी तथा मलेसियामा घरेलु कामदार पठाउँदै आएका छन्, ती सबैले एकैपटक हस्ताक्षर गर्नुपर्छ,’ बैठकमा सहभागी सांसद रामकुमारी झाँक्रीले भनिन्, ‘स्रोत देशबीच आपसी समन्वय र सहकार्य गर्न सांसदबीच एउटा फोरम बनाउन जरुरी छ ।’ सर्वेक्षणअनुसार नेपालमा ७३ हजार घरेलु कामदार छन् । खाडी तथा मलेसियामा झन्डै १ लाख ३९ हजार नेपाली घरेलु कामदारका रूपमा कार्यरत छन् । बंगलादेशको आप्रवासन तथा विकाससम्बन्धी संसदीय ककसका सभापति इजराफी आलमले घरेलु कामदारको स्वास्थ्य भर्ना, उचित तलब, साप्ताहिक बिदा र शोषणमुक्त वातावरणका लागि आईएलओ महासन्धि १८९ महासन्धिमा अनिवार्य हस्ताक्षर गर्नुपर्नेमा आफूहरू प्रस्ट रहेको बताए । ‘यो महासन्धिमा हस्ताक्षर गर्ने राष्ट्रमा फिलिपिन्सपछि बंगलादेश दोस्रो हुनेछ । हाम्रा प्रधानमन्त्रीले यस विषयलाई निकै चासोपूर्वक लिनुभएको छ,’ उनले भने, ‘हामीले घरेलु कामदारको सुरक्षाका लागि राष्ट्रिय नीतिसमेत बनाएर कार्यान्वयन गरिसकेका छौं ।’ उनले नेपाल, भारत, बंगलादेश र श्रीलंकाका घरेलु कामदारका समस्या एउटै प्रकृतिको रहेको बताए । ‘हाम्रा राजनैतिक, सामाजिक र सांस्कृतिक अवस्था समान प्रकृतिका छन् । गन्तव्य देशमा पुगेका नागरिकका समस्या पनि समान हुन् । हामीबीच एकढिक्का भएर चुनौतीको सामना गर्नुको विकल्प छैन,’ उनले भने, ‘त्यसकारण पनि हामी (सांसद) बीच एउटा फोरम बनाउनुपर्छ । नियमित रूपमा हाम्रा कामदारले
भोगेका समस्यालाई न्यूनीकरण गर्नका लागि सहकार्य गर्नुपर्छ ।’
बंगलादेशमा १३ लाख घरेलु कामदार छन् । सन् २०१९ मा मात्रै १ लाख ४ हजार बंगलादेशी घरेलु कामदारका रूपमा बिदेसिएका छन् । यो विदेश जाने कुल संख्याको १५ प्रतिशत हो । श्रीलंकाका सांसद कासाडोरग सुजिथ परेराले खाडी क्षेत्र तथा एसियामा घरेलु रोजगारीको संख्या बढ्दै जाने हुँदा यसलाई मर्यादित गर्न समयमै स्रोत देशहरूले पनि आफ्ना श्रम कानुन र नीतिमा व्यापक सुधार गर्न आवश्यक रहेको बताए । ‘श्रीलंकाबाट पनि घरेलु काममा जाने नागरिकका संख्यामा वृद्धि भइरहेको छ । रोजगारी बढेकै कारण कामदारको संख्या बढेको हो । उनीहरूको सुरक्षाका लागि हामीले नै नीतिमा सुधार गर्नुपर्छ । उनीहरूलाई रोजगारीमा जानका लागि रोक्न वा छेक्न सकिन्न । कानुनी दायराभित्रै ल्याएर व्यवस्थापन गर्न आवश्यक छ,’ परेराले भने, ‘१८९ महासन्धिलाई स्वीकार गर्न बलियो राजनैतिक इच्छाशक्ति चाहिन्छ ।’ १६ लाख श्रीलंकाली घरेलु क्षेत्रमा काम गर्न विदेश गएका छन् ।
१८९ महासन्धिलाई २९ देशले स्वीकार गरिसकेको भए पनि एसियामा फिलिपिन्सले मात्रै यसमा हस्ताक्षर गरेको छ ।

विदेश

जियाको आग्रह फेरि अस्वीकार

- एजेन्सी

(ढाका) - बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाले जमानतमा रिहा हुन गरेको आग्रहलाई उच्च अदालतले फेरि अस्वीकार गरेको छ ।
उनको आग्रहमाथिको सुनुवाइ सकिएलगत्तै उच्च अदालतको दुई सदस्यीय बेन्चका न्यायाधीशद्वय ओबाइदुल हसन र एकेएम जाहिरूल हकले बिहीबार जियालाई जमानतमा रिहा गर्न नसकिने फैसला गरेका हुन् । जमानतमा रिहा हुन माग गर्दै बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) की अध्यक्षसमेत रहेकी जियाले चौथोपटक अदालतसमक्ष निवेदन दिएकी थिइन् । उनले स्वास्थ्यसम्बन्धी समस्या भएकाले मानवीयताका आधारमा जमानतमा रिहा गर्न आग्रह गर्दै आएकी छन् । स्वास्थ्य समस्या भएकाले विदेशमा उपचार गराउन आफूलाई रिहा गर्न उनको माग छ । जिया च्यारिटेबल ट्रस्ट भ्रष्टाचार मुद्दामा हाल जेलजीवन बिताइरहेकी जियाको मागमा फैसला गर्नुपूर्व अदालतले अस्पतालसँग रिपोर्ट मागेको थियो । जियाको स्वास्थ्य समस्याको अझै पनि बंगलादेशमै उपचार सम्भव रहेको विवरण अस्पतालले पेस गरेपछि न्यायाधीशद्वयको संयुक्त इजलासले उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।
हाल ह्विलचेयरमार्फत मात्रै हिँडडुल गर्न सक्ने जिया बिरामी भएपछि गत अप्रिलदेखि बंगबन्धु शेख मुजिब मेडिकल विश्वविद्यालयमा उपचाररत छिन् । आफ्नो नामको ट्रस्टलाई प्राप्त विदेशी सहायतालाई अपचलन गरेको अभियोगमा जेल सजाय भएपछि जियालाई सन् २०१८ मा सात वर्ष जेल सजाय तोकिएको थियो । पहिलोपटक गत जुलाईमा उनले स्वास्थ्य अवस्थाका कारण जमानतमा रिहा हुन पाऊँ भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन् । जियाको स्वास्थ्य अवस्था दिनप्रति दिन खराब हुँदै गएको भन्दै बंगलादेश नेसनालिस्ट पार्टीले उनलाई विदेशमा उपचार गराउन लानका लागि जमानतमा रिहा गर्न माग गर्दै आइरहेको छ । राजनीतिक पूर्वाग्रहका आधारमा जियालाई जमानत नभएको उनीहरूको आरोप छ । सरकारका प्रवक्ता एवं सूचनामन्त्री हसन महुमदले भने जियाको जमानतबारे निर्णय गर्ने सम्पूर्ण अधिकार स्वतन्त्र न्यायपालिकामा रहेकाले यसमा सरकारको हस्तक्षेप भयो भन्ने विषय नै गलत भएको बताएका छन् । बंगलादेशमा हाल अवामी लिग पार्टीकी नेत्री सेख हसिना प्रधानमन्त्री छिन् । जिया र हसिनाबीच लामो समयदेखि राजनीतिक प्रतिस्पर्धा छ ।

 

विदेश

बेलायतमा उच्च सर्तकता

कोरोना संक्रमण
- नवीन पोखरेल

(लन्डन) - युरोपेली राष्ट्रमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन थालेपछि बेलायतले उच्च सतर्कता अपनाएको छ ।
भाइरसबारे सर्वसाधारणमा जनचेतना अभियान सञ्चालन गरिने भएको छ । चीन, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, हङकङ, ताइवान, सिंगापुर, मलेसिया र इटालीबाट फर्किएकालाई कोभिड–१९ को लक्षण देखिए एनएचएस १११ मा सम्पर्क गर्न भनिएको छ । ब्रिटिस एयरवेजले २७ फेब्रुअरी देखि ११ मार्चसम्म लन्डनदेखि इटालीको मिलानसम्मका २२ उडान रद्द गरेको छ । तेल कम्पनी चेभरोनले आफ्नो एक कर्मचारीमा भाइरस लक्षण देखेपछि लन्डनका ३ सय जना कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ । इटालीबाट फर्किएका विद्यार्थी पढ्ने ८ विद्यालय बन्द गरिएका छन् । लन्डनमा गाइज, रोयल फ्री, सेन्ट थोमस आदि विशिष्ट अस्पताल भाइरस
परीक्षणका लागि मात्रै छुट्याइएको बेलायती स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती अस्पतालमा बिरामी लैजाँदा विशेष खालको एम्बुलेन्सको व्यवस्था गरिएको छ ।
अमेरिकापछि बेलायतमा सबैभन्दा बढी करिब २ लाख नेपाली रहेको अनुमान छ । अन्य युरोपेली देश कोरोनाले आक्रान्त भइरहेका बेला बेलायतवासी नेपाली पनि यसबाट त्रसित देखिन्छन् । ‘उच्च सतर्कता हुँदाहुँदै पनि रोग सर्न सक्ने जोखिम देखिएको छ । हामी त अझ हस्पिटलमा काम गर्ने भएकाले निकै डर लागेको छ,’ एक नेपाली स्वास्थ्यकर्मी सोनिया गुरुङ बताउँछिन् । नेप्लिज नर्सिङ एसोसिएसन बेलायतका अध्यक्ष विनोदविकास सिंखडा सेन्ट्रल लन्डन कम्युनिटी एनएचएस ट्रस्टमा काम गर्छन् । लन्डनका धेरै ठाउँमा उक्त ट्रस्टका कम्युनिटी क्लिनिक छन् । ‘ती सबै क्लिनिकमा आउने बिरामीका लागि छुट्टै प्रोटोकल छ,’ सिंखडाले भने, ‘यदि कुनै बिरामीलाई शंकास्पद लक्षण देखिएमा क्लिनिकमा नआउन बरु घरबाटै फोनमा सम्पर्क गर्न सल्लाह दिइएको छ ।’
ट्रस्टले कुनै कर्मचारी संक्रमित
क्षेत्रबाट फर्किएको छ भने १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ । ‘हाम्रो ट्रस्टको क्लिनिकमध्ये साह्रै व्यस्त हुने लन्डन चाइना टाउननजिकको सोहो हेल्थ सेन्टर अहिले एकदम सुनसान छ,’ सिंखडा भन्छन्, ‘चाइनिज नेसनल
हेल्थी लिभिङ सेन्टर पनि एउटै भवनमा भएर होला, क्लिनिक सुनसान देखिन्छ ।’
नेसनल हेल्थ सर्भिस (एनएचएस) बेलायतले हरेक अस्पतालमा गर्नुपर्ने तयारी र उपचार विधिका लागि निर्देशिका जारी गरेको क्विन एलिजावेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. बच्चुकैलाश कैनी बताउँछन् । ‘हरेक अस्पतालमा शंकास्पद बिरामी आउना साथ कसले कसरी जाँच गर्ने, कस्तो किसिमको सतर्कता अपनाउने, अस्पतालको कुन ठाउँमा लगेर राख्नेसमेतको व्यवस्था गरिएको छ,’ उनले भने । अस्पतालमा काम गर्ने कर्मचारीका बीचमा समेत कोरोना भाइरसबारे व्यापक सचेतना बढाउने कार्यक्रम गरिएका छन् ।कोभिड–१९ ले बेलायतमा हालसम्म कसैको पनि मृत्यु नभए पनि १९ जना संक्रमित पुष्टि भएका छन् ।

विदेश

ह्यारी दम्पतीको सुरक्षा हटाउँदै क्यानडा

- कान्तिपुर संवाददाता

ओट्टवा (एजेन्सी)– क्यानडाले बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्केललाई दिँदै आएको सुरक्षा हटाउने भएको छ । ड्युक एन्ड डचेस अफ ससिक्स भनिने ह्यारी दम्पतीलाई रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) ले सन् २०१९ को नोभेम्बरमा क्यानडा आएदेखि सुरक्षा प्रदान गर्दै आइरहेको थियो । शाही जिम्मेवारी त्याग्ने घोषणा गरेका ह्यारी दम्पतीले ३१ मार्चबाट औपचारिक रूपमै वरिष्ठ शाही सदस्यको जिम्मेवारी छोड्दै छन् । शाही उपाधि त्यागेपछि क्यानडामा बस्ने भनिएका ह्यारी दम्पतीको सुरक्षामा कसले खर्च गर्छ भन्नेबारे भने प्रस्ट पारिएको छैन ।

विदेश

भारतमा ६ सयभन्दा बढी प्रहरी नियन्त्रणमा

- कान्तिपुर संवाददाता

नयाँदिल्ली (एजेन्सी)– राजधानी नयाँदिल्लीमा भएको हिंसापछि सयौं सर्वसाधारणलाई नियन्त्रणमा लिइएको प्रहरीले शुक्रबार जनाएको छ । दिल्ली प्रहरी प्रवक्ता एमएस रन्धावाका अनुसार ६ सयभन्दा बढीलाई नियन्त्रणमा लिइएको हो । हिन्दु–मुस्लिमबीचको यसै साता भएको हिंसाका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ र केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्यामा वृद्धि हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नागरिकता संशोधन ऐनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीबीच झडप हुँदा हिंसा भड्किएको थियो । 

विदेश

साउदीलाई महिला अधिकारवादी रिहा गर्न आग्रह

- कान्तिपुर संवाददाता

जेनेभा (एजेन्सी)– संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी निकायकी प्रमुख मिचेल बाचेलेटले बिहीबार साउदी अरबलाई नियन्त्रणमा लिइएका महिला अधिकारकर्मीलाई रिहा गर्न आग्रह गरेकी छन् । उनले वाक् स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने पाउने मानिसका नैसर्गिक अधिकारको सम्मान गर्न आग्रह गर्दै पक्राउ परेका कैयौं अधिकारवादी, धार्मिक नेतृत्व र पत्रकारलाई समेत रिहा गर्न आग्रह गरेकी हुन् । रियादको एउटा कार्यक्रममा उनले ‘भेदभावपूर्ण नीतिमा सुधार’ का माग गर्ने अधिकारवादीलाई पक्राउ गरिएको प्रति पनि चिन्ता व्यक्त गरेकी छन् । 

Page 10
समाचार

प्रचण्डसँग भेट भएकै छैन : देउवा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाका दुई अध्यक्षसँग हालसालै भेटघाट नभएको बताएका छन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग हालै भेट भएको भनी प्रचार भएका विषयमा आफ्नै समूहका नेताहरूले जिज्ञासा राख्दा देउवाले अस्वीकार गरेका हुन् । ‘उहाँ (देउवा) ले धेरै कुरा भन्न चाहनुभएन तर केही दिनयता दाहाल र ओली दुवैसँग भेट नभएको बताउनुभयो,’ देउवा निकट स्रोतले भन्यो । देउवाले शुक्रबार पार्टीको केन्द्रीय विभाग गठनका सम्बन्धमा छलफल गर्न आफ्नै निवास बूढानीलकण्ठमा संस्थापन पक्षीय नेताको बैठक बोलाएका थिए । बैठकमा नेकपाको आन्तरिक कलह र देउवा–दाहाल भेटघाट भएनभएका विषयमा चर्चा भएको थियो ।
प्रधानमन्त्री ओलीले बिहीबार कांग्रेस नेता शेखर कोइरालासँग देउवालाई भेटेको खुलासा गरेका थिए । आफूसँगको भेटघाटअघि दाहाल र देउवाबीच भेट भएको जानकारी आफूलाई प्राप्त भएको ओलीले कोइरालासँग बताएका थिए । कांग्रेस सांसद विनोद चौधरीको समन्वयमा उनकै निवासमा चार जना उद्योग–व्यापारीसहित दाहाल–देउवा भेट भएको चर्चा बाहिरिएपछि देउवासँग निकटस्थ नेताले जिज्ञासा राखेका हुन् । देउवाले केही साताअघि सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका सन्दर्भमा दाहालसँग भेट भएको र त्यसपछि नभएको बताएका थिए ।
नेकपा अध्यक्ष दाहालले पनि शुक्रबारै राजधानीबाहिरको कार्यक्रममा देउवासँग हालै भेट नभएको दाबी गरेका छन् । नेकपाको आन्तरिक द्वन्द्वमा ‘खेल्ने’ गरी भेट्न नहुने सुझाव देउवालाई उनी निकट सदस्यहरूले दिएका थिए । ‘यसले कांग्रेसलाई होइन, नेकपालाई लाभ मिल्छ,’ एक नेताको भनाइ थियो ।


विभाग गठनको तयारी
पार्टीको केन्द्रीय विभाग गठनमा संस्थापनइतर पक्षले सहयोग नगर्ने भएपछि आफ्नो समूहका सदस्य मात्रै राखेर भए पनि गठन गर्ने मनस्थितिमा देउवा पुगेका छन् । संस्थापनइतर पक्षले कार्यकाल सकिएपछि विभाग गठनको औचित्य नभएको र महाधिवेशनलाई प्रभावित पार्ने मात्रै योजना रहेको तर्क गर्दै आएका छन् । ‘अहिले विभाग गठन गर्नुका पछाडि महाधिवेशन प्रभावित पार्ने उद्देश्य देखिन्छ,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले कान्तिपुरसित भने, ‘यो कुरा हामीलाई स्वीकार्य छैन ।’
केही दिनअघि महामन्त्री शशांक कोइरालाले कार्यकाल सकिएर काम चलाउ हैसियतमा पुगिसकेका देउवाले विभाग गठन गर्न नहुने बताएका थिए । ‘अब महाधिवेशनको तयारीमा जानुपर्छ, विभाग गठन गरेर महाधिवेशनलाई अल्झाउनेतिर लाग्न हुन्न,’ उनले कान्तिपुरसित भनेका थिए, ‘आचारसंहिताले पनि शेरबहादुरजीलाई विभाग गठन गर्न दिँदैन ।’
देउवाले अधिकतर केन्द्रीय सदस्यलाई व्यवस्थापन गर्ने नाममा विभागको संख्यासमेत बढाएका छन् । विधानमा २८ विभागको व्यवस्था भए पनि पुस ११ मा संस्थापनइतर पक्षीय नेताको बहिष्कारबीच बसेको केन्द्रीय कार्यसमिति बैठकले संख्या थपेर ४७ पुर्‍याएको थियो ।

समाचार

‘संघीयता केन्द्रलाई अनवान्टेड बेबी’

- कान्तिपुर संवाददाता

जनकपुर (कास)– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारका लागि संघीयता ‘अनवान्टेड बेबी’ जस्तै भएको टिप्पणी गरेका छन् । मानव अधिकार पत्रकार संघ काठमाडौंले शुक्रबार जनकपुरमा आयोजना गरेको ‘नेपालको संघीय संविधान कार्यान्वयन सम्भावना र चुनौती’ विषयक कार्यशाला उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मधेस केन्द्रित दलको बलिदानबाट संघीयता आएको दाबी गरे । ‘केही राजनीतिक दलले संघीयता चाहेकै थिएनन्,’ उनले भने ।
राउतले प्रादेशिक संरचना नयाँ भएकाले थप स्याहार आवश्यक रहेको बताए । संघीय सरकार केन्द्रीकृत मानसिकताबाट माथि उठ्न नसकेको उनको आरोप थियो । ठूला दलहरू विकासभन्दा पनि राज्य सत्तामाथि आफ्नो पकड बनाउने खेलमा लागेको भन्दै उनले बताए ।

Page 11
अर्थ वाणिज्य

सुस्ताए चिनियाँ जिम्माका आयोजना

नयाँ वर्ष मनाउन चीन गएका कामदार नफर्किंदा कामले गति लिन नसकेको हो
- विमल खतिवडा
विस्तार भइरहेको बुटवल–नारायणगढ सडकखण्ड । तस्बिर ः नवीन पौडेल/कान्तिपुर

(काठमाडौं) - चिनियाँ कम्पनीले जिम्मा लिएर निर्माणाधीन सडक र जलविद्युत् आयोजनामा कामदार अभावले निर्माणको काम प्रभावित बनेको छ । नयाँ वर्ष मनाउन चीन गएका कामदार नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अहिलेसम्म फर्कन सकेका छैनन् । उनीहरू नआएपछि आयोजनाहरूको काम ठप्पप्रायः छ ।
यसको सबैभन्दा बढी समस्या नारायणगढ–बुटवल सडकखण्डमा देखिएको छ । गत चैतबाट निर्माण सुरु भएको यो आयोजना दुई प्याकेजमा काम भइरहेको छ । दुवैतिर गरी ४० जना चिनियाँ काम गरिरहेका छन् । तीमध्ये १५ जना दुई महिनादेखि चीनमै रोकिएका छन् । दुवै ठेक्काका इन्चार्ज उतै बसेपछि काममा समस्या भएको आयोजनाले जनाएको छ । जनवरीमा नयाँ वर्ष मनाउन टोली चीन गएको र त्यही बेला कोभिड–१९ देखिएपछि समस्या भएको नारायणगढ–दाउन्ने सडकखण्डका प्रमुख सुजन अधिकारीले बताए ।
दुवै खण्डका इन्चार्ज मिस्टर लिन हुङ ताओ चीनमै छन् । ‘निर्णय गर्ने तहका व्यक्ति नहुँदा समस्या भएको हो,’ अधिकारीले भने, ‘जसले गर्दा काम प्रभावित बनेको छ ।’ कामै भने नरोकिएको उनले दाबी गरे । ‘अहिले रुख काट्ने काम भइरहेको छ,’ उनले भने, ‘यसमा त्यति प्रभाव परेको छैन । माटो भर्ने, कल्भर्ट बनाउने, पुल र अन्य संरचना निर्माण गर्ने काम भने प्रभावित छ ।’ काम भए पनि जुन गतिमा हुनुपर्ने थियो, त्यो गतिमा हुन सकेको छैन । ‘यो कामले गति लिनुपर्ने समय हो,’ अधिकारीले भने । १५ जनामध्ये इन्चार्जसहित पाँच जना नेपाल आउने तयारीमा रहेको अधिकारीले बताए ।
‘उनीहरूलाई ल्याउन के गर्न सकिन्छ भनेर स्वास्थ्य मन्त्रालयसँग आग्रह गर्‍यौं,’ उनले भने, ‘यसबारे उनीहरू आफैं पनि सचेत छन् ।’ नेपाल आउने तयारी गरेका उनीहरू आएर १४ दिन ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नेछन् । ‘अपार्टमेन्टमा छुट्टै बस्ने तयारी गरेका छन्,’ उनले भने । सडक विभागअन्तर्गतको एसियाली विकास बैंक (एडीबी) सडक निर्देशनालयले चाइना स्टेट कन्स्ट्रक्सनसँग माघ २४ मा ठेक्का सम्झौता गरेको थियो । ३२ वर्षका लागि एडीबीको ऋण सहयोगमा सडक निर्माण सुरु भएको हो । निर्माणको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँ छ । यसमा ८५ प्रतिशत रकम १ दशमलव ५ प्रतिशत ब्याजदरमा एडीबीले ऋण दिएको हो । थप खर्च नेपाल सरकारकै हुनेछ । सडक चार लेनको हुनेछ । यसको लम्बाइ १ सय १३
किमि छ ।
चीन सरकारको अनुदानमा निर्माणाधीन १६ किमि रसुवागढी–स्याफ्रुबेंसी सडक निर्माणमा पनि समस्या परेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए । ‘नयाँ वर्ष मनाउन गएका चिनियाँ कन्ट्र्याक्टर फर्किएका छैनन्,’ उनले भने । काठमाडौं चक्रपथको पूर्वसम्भाव्यता अध्ययन (डीपीआर) का लागि चिनियाँ टोली नआउँदा पनि काम नभएको उनको भनाइ छ । ‘उनीहरूले पहिला साइट क्लियर गर्न भनेका छन्, त्यो काम भने भइरहेको छ,’ सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले भने । कोरोनाले गर्दा आउन नसकेको भन्दै उनीहरूले म्यासेज पठाउने गरेको विभागले जनाएको छ ।
चिनियाँ कामदार आउन नसक्दा विद्युत् आयोजनाको काम प्रायः ठप्प छ । दोलखा र रामेछापको सीमामा निर्माणाधीन ४८.२ मेगावाटको खिम्ती–२ तथा रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको काम चिनियाँ कामदार नआउँदा रोकिएको छ । खिम्ती–२ पिपल्स इनर्जी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेका छन् । दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना वाटर टर्बाइन वर्क्स (सीडब्लूटीडब्लू) ले लिएको छ । चीनबाट कामदार नफर्किएकै कारण यी दुवै आयोजनाका काम अघि बढ्न नसकेको कम्पनी म्यानेजर रामहरि शर्माले बताए । ‘ठेकेदार कम्पनी सम्पर्कमै छन्,’ शर्माले भने ।
मुलुकभर निर्माणाधीन आयोजनामध्ये चीनले निर्माण गरिरहेकामा बढी असर परेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र
कार्कीले बताए ।

अर्थ वाणिज्य

हेटौंडा सिमेन्टमा ३ अर्ब प्रस्ताव

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको क्षमता विस्तारका लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने भएको छ । संघीय उद्योग मन्त्रालयको निर्देशनअनुसार उद्योगले क्षमता विस्तार प्रस्ताव तयार गरेको छ ।
निजी सिमेन्टसँग मूल्यमा प्रतिस्पर्धा गर्न उत्पादन लागत घटाउने योजनाका साथ प्रस्ताव तयार गरेको उद्योगले जनाएको छ । यसका लागि करिब २ अर्ब ८८ करोड आवश्यक देखिएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए ।
उद्योगमा आधुनिक मेसिन थप्ने र पुराना मेसिन मर्मतलगायत कामका लागि बृहत् अध्ययन गरी अनुमानित लागतसहितको क्षमता विस्तार प्रस्ताव तयार गरिएको हो । ‘क्षमता विस्तारको अनुमानित लागतसहितको प्रस्ताव केही दिनमै उद्योग मन्त्रालयमा बुझाउने तयारी भइरहेको छ,’ सिंहले भने, ‘प्रस्तावअनुसार सरकारले लगानी थप गरेमा उद्योगको क्षमता चार गुणा बढ्नेछ । सिमेन्ट उत्पादन लागत प्रतिबोरा झन्डै २ सय रुपैयाँ घट्नेछ ।’
भारतबाट कोइला ल्याइने प्रक्रियासमेत परिवर्तन गर्न सके सिमेन्टको उत्पादन लागत प्रतिबोरा करिब ३ सय ९५ मा झर्ने र यसले गर्दा नेपालमै सबैभन्दा सस्तो सिमेन्टका रूपमा हेटौंडा सिमेन्ट स्थापित हुने सिंहको दाबी छ ।
उद्योगको उत्पादन लागत हाल प्रतिबोरा करिब ६ सय ६० रुपैयाँ छ । त्यसमा केही नाफा राखेर बिक्री गर्दा निजी उद्योगको भन्दा हेटौंडा सिमेन्ट केही महँगो पर्ने गरेको छ ।

कोइला आयातमा सरकारले सीधै भारत सरकारसँग जी टु जी सम्झौता गर्न पनि प्रस्ताव गरिएको छ । जी टु जीमार्फत कोइला आयात गर्दा निकै सस्तो पर्ने र यसले सिमेन्ट उत्पादन लागत घटाउने उद्योग प्रशासनको दाबी छ ।
उद्योगले दोस्रो पक्षसँग कोइला आयात गर्दा अहिले प्रतिटन साढे १८ हजार रुपैयाँ पर्छ । जी टु जीमार्फत प्रतिटन १३ हजार रुपैयाँमै आउँछ । सरकारले चालु आर्थिक वर्षमा हेटौंडा–९ लामसुरेमा हेटौंडा सिमेन्टको क्षमता विस्तार गर्ने नीति लिएअनुरूप सिमेन्ट उद्योग प्रशासनले क्षमता विस्तारको प्रस्ताव तयार गरेको हो । यसअनुसार क्षमता विस्तार हुँदा दैनिक ५० देखि ६० हजार बोरा सिमेन्ट उत्पादन गर्न सकिनेछ । हाल दैनिक १० देखि १२ हजार बोरा सिमेन्ट मात्रै उत्पादन भइरहेको छ । उत्पादनअनुसार बिक्री नहुँदा धेरै सिमेन्ट उद्योगमै थन्किएको छ । उद्योगको क्षमता विकास गर्दा लाग्ने मेसिन, जनशक्ति, विद्युत्, बजेटलगायतको अनुमानसहितको प्रस्ताव तयार गरिएको उद्योगले जनाएको छ । क्षमता विस्तारसँगै थप चुनढुंगा खानी पनि आवश्यक पर्ने भन्दै उद्योगले मन्त्रालयमा खानीको व्यवस्था गर्न प्रस्ताव गरिसकेको छ । हाल उद्योगले धादिङस्थित जोगीमारा, मकवानपुरको आमभन्ज्याङस्थित मजुवा, भैंसे र ओखरे खानीबाट चुनढुंगा ल्याएर उद्योगले सिमेन्ट उत्पादन गरिरहेको छ । उद्योगले निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न चालु आर्थिक वर्षमा मात्र तीन पटक मूल्य समायोजन गरिसकेको छ । ८ सय ९८ रुपैयाँ मूल्य रहेको सिमेन्टको मूल्य ८ सय २४ रुपैयाँमा झारिएको थियो । गत असोज ७ गते पुनः मूल्य समायोजन गरी ८ सय रुपैयाँ ४ पैसामा झारियो । त्यति गर्दा पनि अपेक्षाअनुसारको बिक्री नभएपछि कात्तिक २६ बाट सिमेन्टको उपभोक्ता मूल्य ७ सय ४९ रुपैयाँ कायम गरिएको छ ।

 

अर्थ वाणिज्य

उखु अनुदान सबै निकासा

भुक्तानीको जिम्मा कोष तथा लेखा नियन्त्रक कार्यालयलाई
- राजु चौधरी

(काठमाडौं) - सरकारले उखु किसानलाई दिने भनिएको अनुदान सबै निकासा गरी कोष तथा लेखा नियन्त्रणको कार्यालय (कोलेनिका) लाई भुक्तानी जिम्मा दिएको छ । सरकारले पछिल्लो समय थप ४९ करोड रुपैयाँ भुक्तानीको जिम्मा कोलेनिकालाई लगाएको हो ।
चिनी उद्योगले किसानबाट खरिद गरेको परिमाणअनुसार १ अर्ब ३३ करोड ५३ लाख १३ हजार रुपैयाँ अनुदान दिनुपर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयले ९२ करोड रुपैयाँ मात्रै बुझाएको थियो । किसानले भने अहिलेसम्म ३७ करोड रुपैयाँ मात्रै पाएका छन् ।
‘कृषिमा भएको बजेटअनुसार ९२ करोड दिएको थियो । अपुग रकम अर्थले निकासा गरिदिएको छ,’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘अनुदान रकम निकासा भएलगत्तै जिल्ला पठाइएको छ ।’ स्रोतका अनुसार किसानको नाममा बिचौलिया नै हाबी भएपछि सबै वितरण हुन सकेन । सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत उत्पादन अनुदान दिने निर्णय गरेको थियो ।
अनुदान वितरणकै लागि उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि–०७५ बनेको छ । यसअनुसार अनुदान रकम सिधै उखु कृषकको बैंक खातामा जान्छ । अनुदान वितरणका लागि जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी जिल्लाका कृषि ज्ञान केन्द्र प्रमुख, स्थानीय तहका कृषि शाखा प्रमुख र सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सदस्यसहितको कमिटी छ । कमिटीले मिलबाट प्राप्त विवरणका आधारमा किसानको विवरण अद्यावधिक गरी अनुदान दिन्छ । तर किसानका नाममा बिचौलिया हाबी हुँदा जिल्लामा अनुदान रकम वितरण हुन
सकेको छैन । उखु बिक्री भएका नौ मध्ये तीन जिल्लामा अनुदान वितरण नभएको मन्त्रालयको भनाइ छ । छ जिल्लामा केही मात्रामा वितरण भए पनि सबै किसानले पाएका छैनन् । सुनसरीमा ५ करोड १४ लााख ५५ हजार रुपैयाँ मात्रै वितरण भएको मन्त्रालयले जनाएको छ । उक्त जिल्लामा २ करोड ३३ लाख ८४ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सिराहामा ५३ लाख ६८ हजार रुपैयाँ वितरण भएको छ । सिराहामा २ करोड ३९ लाख ४ हजार रुपैयाँ अझै वितरण गर्न बाँकी छ । बारामा ७ करोड ४६ लाख र नवलपरासीमा ४ करोड १३ लाख रुपैयाँ वितरण भएको छ । बारामा ५ करोड ७८ लाख ६८ हजार र नवलपरासीमा २ करोड ६५ लाख रुपैयाँ वितरण गर्न बाँकी छ ।

छ जिल्लामा केही मात्रामा वितरण भए पनि सबै किसानले पाएका छैनन् । सुनसरीमा ५ करोड १४ लााख ५५ हजार रुपैयाँ मात्रै वितरण भएको मन्त्रालयले जनाएको छ । उक्त जिल्लामा २ करोड ३३ लाख ८४ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सिराहामा ५३ लाख ६८ हजार रुपैयाँ वितरण भएको छ । सिराहामा २ करोड ३९ लाख ४ हजार रुपैयाँ अझै वितरण गर्न बाँकी छ । बारामा ७ करोड ४६ लाख र नवलपरासीमा ४ करोड १३ लाख रुपैयाँ वितरण भएको छ । बारामा ५ करोड ७८ लाख ६८ हजार र नवलपरासीमा २ करोड ६५ लाख रुपैयाँ वितरण गर्न बाँकी छ ।
कञ्चनपुरमा १६ करोड ३७ करोड भुक्तानी भए पनि ७ करोड ४४ लाख रुपैयाँ बाँकी छ । ललितपुरमा भने ३ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको छ । यीबाहेक महोत्तरी, सर्लाही र रौतहटमा भुक्तानी नै भएको छैन ।
मन्त्रालयका अनुसार महोत्तरीमा ६ करोड ६९ लाख, सर्लाहीमा ११ करोड २८ लाख र रौतहटमा २ करोड ७९ लाख रुपैयाँ अनुदान दिन बाँकी छ । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने जिल्लामा सबै अनुदान निकासा भएपछि मात्रै वितरण गर्न भनिएकाले ढिलाइ भएको दाबी गरे । ‘जिल्ला प्रतिनिधि र सांसदले पनि सबै रकम निकासा भएपछि वितरण गर्ने भनेका थिए,’ उनले भने, ‘त्यही भएर ढिलाइ भयो । अब छिट्टै वितरण हुन्छ ।’
अनुदानको आश्वासन पाएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । ‘रकम निकासा भएको जानकारी आएको छ । तीन जिल्लाको हकमा सबै निकासा भएपछि वितरण गर्ने सहमति थियो,’ उनले भने । अनुदानबाहेक उखुको भुक्तानी पनि क्रमशः भइरहेको महासंघको भनाइ छ । ‘अन्नपूर्ण, श्रीराम, महालक्ष्मी र लुम्बिनी सुगर मिलबाहेक अन्यले भुक्तानी दिइरहेको छन्,’ उनले भने ।

 

अर्थ वाणिज्य

ठेक्कामै अल्मलिए प्रदेश गौरवका योजना

- मोहन बुढाऐर

(धनगढी) - सुदूरपश्चिम प्रदेश सरकारले छानेका गौरवका नौ वटा सडक योजना ठेक्का प्रक्रियाकै अलमलमा छन् । केही सडकखण्डमा ठेक्का भए पनि निर्माण सुरु भएको छैन । प्रदेशको मुख्य आर्थिक मेरुदण्डका रूपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले गएको आर्थिक वर्षदेखि बजेट विनियोजन गरेर प्रदेश गौरवका सडक योजना बनाएको हो ।
गत वर्ष निर्माण प्रक्रिया अघि बढाउन नसकेर ठूलो अंकमा बजेट फ्रिज भएको थियो । चालु आर्थिक वर्षको छ महिना बितिसक्दा
पनि ठेक्कापट्टाकै चरणभन्दा अगाडि बढाउन सकेको छैन ।
भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको गृहजिल्ला डडेलधुरामा भने प्रदेश गौरवका योजनाअन्तर्गत रहेको सडक योजनाको काम सुरु भएको छ । कञ्चनपुरको दैजी–जोगबुढा–चिरकट्टे महाभारत हुँदै ढुंगाड–बझाङ जोड्ने सडक प्रदेश गौरवको योजनाअन्तर्गत पर्छ । उक्त योजनाको दैजीदेखि जोगबुढासम्म कालोपत्रे गर्न ठेक्काको काम भइरहेको छ ।
दैजी–जोगबुढा सडक संघीय सरकारबाट प्रदेशलाई हस्तान्तरण भएपछि गौरवको योजनामा परेको हो । जोगबुढादेखि चिरकट्टे महाभारतको लेक हुँदै बझाङको ढुंगाडसम्म खण्डखण्डमा ठेक्कापट्टा भइसकेको छ । गौरवका अन्य सडक योजनाको खण्डखण्डमा काम सुरु भएकाले केही ठाउँमा ठेक्का भइसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । केही ठाउँमा डीपीआर तयार हुन नसकेको मन्त्रालयले जनाएको छ । खप्तड–मार्तडी–बाजुरा जोड्ने ४५ किलोमिटर सडक योजनाको १५ किलोमिटर खण्डमा ठेक्का प्रक्रिया अघि बढेको छ । त्यस्तै अछामको चिसापानी–ऋषिदह–बडिमालिका योजनामा २२ किलोमिटर खण्डमा २२ करोड विनियोजन गरिएको छ ।
डोटीको सहजपुर–बोक्टान–दिपायल योजनाको १२ किलोमिटर खण्डका लागि ३२ करोडको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको निर्देशनालयको भनाइ छ । बैतडी, बझाङ, दार्चुला, कञ्चनपुर र कैलाली गौरवका सडक योजनाको केही काम सुरु हुन सकेको छैन । बैतडीको सतबाँझ–श्रीभावर हाट दार्चुला ५० किलोमिटर प्रदेश गौरवको योजनामा पर्छ ।

त्यस्तै अछामको चिसापानी–ऋषिदह–बडिमालिका योजनामा २२ किलोमिटर खण्डमा २२ करोड विनियोजन गरिएको छ । डोटीको सहजपुर–बोक्टान–दिपायल योजनाको १२ किलोमिटर खण्डका लागि ३२ करोडको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको निर्देशनालयको भनाइ छ ।
बैतडी, बझाङ, दार्चुला, कञ्चनपुर र कैलाली गौरवका सडक योजनाको केही काम सुरु हुन सकेको छैन । बैतडीको सतबाँझ–श्रीभावर हाट दार्चुला ५० किलोमिटर प्रदेश गौरवको योजनामा पर्छ । त्यसको पनि डीपीआर बनेको छैन । कैलालीको चिसापानीदेखि बाजुराको बडिमालिका सडक योजनामा पनि लागत अनुमान र प्राविधिक अध्ययन भएको छैन ।
दार्चुलाको खार हुँदै हुम्लाको रानीखर्क, कञ्चनपुरको बेलौरी, नाइल बुडर, बझाङदेखि हुम्लाको रानीखर्क जोड्ने गौरवका योजनामा पनि अध्ययन भएको छैन । प्रदेश गौरवका सडक योजनाको राम्रोसँग सर्भे र अध्ययन नै नभएकाले कार्यान्वयनमा समस्या परेको निर्देशनालयका एक जना इन्जिनियरले बताए ।
हचुवाका भरमा प्रदेश गौरवका सडक योजनाको रेखांकन गरेर बजेट विनियोजन भएको उनको भनाइ छ । एउटा जिल्लामा एउटा गौरवको सडक योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले जानकारी दिए । सरकारको पाँचवर्षे अवधिमा प्रदेश गौरवमा सडक सकिइसक्ने उनको दाबी छ ।

अर्थ वाणिज्य

ॅइन्धन कर कानुनअनुसारै’

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– अर्थ मन्त्रालयले आर्थिक ऐन, ०७६ अनुसार नै पेट्रोल, डिजेल र हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार विकास कर परिमार्जन गरिएको बताएको छ । ‘करको दरमा पुनरावलोकन गरिनुपर्ने अवस्था देखिएकाले ऐनको दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को फागुन १२ गतेको निर्णयअनुसार गरिएको हो,’ मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपदफाअनुसार प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारले आवश्यकताअनुसार यो ऐन र प्रचलित अन्य कानुनबमोजिम लगाइएका दस्तुर शुल्क, महसुल र करको दर घटाउन, बढाउन वा त्यस्तो दस्तुर, महसुल र कर आंशिक वा पूर्ण रूपमा छुट दिन सक्ने कानुनी व्यवस्था छ ।’

अर्थ वाणिज्य

मदिरा पसल सिल

- कान्तिपुर संवाददाता

तनहुँ (कास)– आन्तरिक राजस्व कार्यालय दमौलीले व्यास नगरपालिका–३ दमौलीस्थित तनहुँ वाइन सप सिलबन्दी गरेको छ । पसलमा शंकास्पद मदिरा भेटिएकाले थप अनुसन्धान गर्न सिलबन्दी गरिएको कार्यालय प्रमुख सूर्य सेढाईंले जनाए । सपले मदिरा बोतलमा लगाइने अन्तःशुल्क स्टिकर टाँसबिनै बेचेको भेटिएको थियो । ‘यहाँका प्रायः खुकुरी रमका बोतल करछली गरी बिक्रीका लागि राखिएको रहेछ,’ उनले भने, ‘बोतलभित्र रहेका रक्सी पनि नक्कली हुन सक्ने शंका छ ।’ सपको गोदामबाट १० कार्टोन स्टिकरबिनाका रक्सी फेला परेको कार्यालयले जनाएको छ । 

Page 12
अर्थ वाणिज्य

'सुदूरपश्चिम सधैं पछि परेको प्रदेश बन्न चाहन्न'

राष्ट्रपति विद्यादेवी भण्डारीसँग कञ्चनपुर विमानस्थल सञ्चालन गराइदिन आग्रह
- भवानी भट्ट
शुक्लाफाँटा पर्यटन महोत्सवका अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा आयोजित कार्यक्रममा राष्ट्रपतिसामु होली नाच प्रस्तुत गर्दै महिला । तस्बिर ः भवानी/कान्तिपुर

(कञ्चनपुर) - शुक्रबार मझगाउँ विमानस्थल क्षेत्रमा आयोजित कार्यक्रममा उपस्थित राष्ट्रपति विद्यादेवी भण्डारीसामु जनप्रतिनिधिहरूले विमानस्थल सञ्चालनका लागि आग्रह गरे । विकास निर्माणका अन्य दर्जनौं माग पनि उनीहरूले राष्ट्रपतिसमक्ष राखे ।
लामो समयदेखि बन्द कञ्चनपुरको यो विमानस्थल सञ्चालनका हुनुपर्नेमा विगतदेखि नै यहाँका बासिन्दाले जोड दिँदै आएका छन् । पछिल्लो पटक स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यो मुद्दा सबै राजनीतिक दलले आफ्नो चुनावी एजेन्डा बनाएका थिए । उनीहरूले विमानस्थलसँगै सुक्खा बन्दरगाह, महाकाली करिडोर र दैजी छेला औद्योगिक क्षेत्रलगायत मुद्दामा समेत राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।
‘मझगाउँ विमानस्थल सञ्चालन गर्न यस क्षेत्रको मागअनुसार प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेको छ,’ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भने, ‘संघीय सरकारले छिट्टै यो माग पूरा गर्ने अपेक्षा गरेका छौं ।’ महाकाली करिडोर, सेती लोकमार्ग, खुटिया–दिपायल ट्र्याक खोल्ने र औद्योगिक क्षेत्रको काम छिट्टै सञ्चालन हुने अपेक्षासमेत उनले राष्ट्रपतिसामु व्यक्त गरे ।
सुदूरपश्चिममा हालसम्म पनि भारतसँगको औपचारिक व्यापारिक नाका छैन । गौरीफन्टा नाका दुधुवा नेसनल पार्कका कारण बन्द भएपछि कञ्चनपुरको महाकाली नगरपालिकामा सुक्खा बन्दरगाहको कुरा उठेको छ । ‘हामीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाहसँगै दैजी क्षेत्रमा औद्योगिक क्षेत्र र चाँदनी हुँदै तिंकरसम्मको महाकाली करिडोरको कुरा उठाएको धेरै भयो,’ कञ्चनपुरबाटै निर्वाचित प्रतिनिधिसभाका सदस्य डा. दीपकप्रकाश भट्टले भने, ‘अहिले यसतर्फ सकारात्मक कदम पनि अघि बढेको छ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जग्गाको स्वामित्व हस्तान्तरणका लागि प्रक्रियासमेत अघि बढाएको छ ।’
‘अब सुदूरपश्चिम सधैं पछि परेको प्रदेशका रूपमा रहन चाहँदैन, हामी यो देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा प्रस्तुत हुन चाहन्छौं,’ सांसद भट्टले भने, ‘अहिलेको सरकारले यसतर्फ कदम पनि चालेको छ ।’ महाकाली करिडोर निर्माणको काम पनि छिट्टै अघि बढ्ने समेत उनले बताए । सुदूरपश्चिमका प्रचुर सम्भावनालाई अवसरमा बदल्न सके देशकै विकासमा महत्त्वपूर्ण योगदान पुग्ने भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टको भनाइ छ ।
भीमदत्त नगरपालिकाले आयोजना गरेको तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवका अवसरमा राष्ट्रपति भण्डारी कञ्चनपुर पुगेकी हुन् । सोही अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता महोत्सवले भ्रमण वर्षलाई समेत फाइदा पुग्ने बताइन् । ‘शुक्लाफाँटाको ठूलो घाँसे मैदान र यहाँका वन्यजन्तुले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ,’ उनले भनिन्, ‘झोलुंगे पुल, चुरे क्षेत्रका धार्मिक पर्यटकीय स्थलको संरक्षण र प्रचारप्रसारले पर्यटकलाई लोभ्याउन सकिन्छ ।’
रानाथारू समुदायको मौलिक पहिचान समाजको अमूल्य निधि भएकाले सम्बन्धित पक्षले यसको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । यस क्षेत्रको पर्यटन विकासका लागि धनगढीको विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलमा स्तरोन्नति गरिनुपर्ने उनले बताइन् । कैलाश मानसरोवरसम्मको पहुँचमार्ग निर्माणतर्फ पनि सम्बद्ध निकायको ध्यान केन्द्रित हुनुपर्ने उनको
भनाइ छ ।
सुदूरपश्चिम कृषि उत्पादनका लागि पनि चिनिने भएकाले त्यसलाई ध्यान दिएर कृषिको पनि आधुनिकीकरण गर्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन् । महेन्द्रनगरमै रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेर यस क्षेत्रमा गुणस्तरिय जनशक्ति उत्पादन गरेर कृषि र पर्यटनमा विकास गर्न सकिने उनको भनाइ छ ।

अर्थ वाणिज्य

वर्षाले अढाइ करोडको इँटा क्षति

- कान्तिपुर संवाददाता


नवलपरासी (कास)– तीन दिनअघिको वर्षाले जिल्लामा २ करोड ५० लाख मूल्य बराबरको इँटामा क्षति पुगेको छ । पोल्न ठिक्क पारिएका करिब ५० लाख काँचो इँटा पानीले पखालेर क्षति पुर्‍याएको हो । विभिन्न नौ भट्टामा इँटा बनाइँदै थियो । गत पुसमा परेको झरीले पनि यहाँका सबै उद्योगमा ५ करोड मूल्य बराबरको क्षति भएको थियो । जिल्लामा हरेक सिजनमा ८ देखि १० करोड इँटा उत्पादन हुने गरेको पूर्वी नवलपरासी इँटा उद्योग संघका सचिव कृष्ण गौतमले जानकारी दिए । बजारमा पठाउने समयमा पानीले क्षति भएपछि इँटा अभाव भएको छ ।

अर्थ वाणिज्य

कालोसूचीमा राख्दै, नयाँ सम्झौता गर्दै

- चाँदनी कठायत

(वीरेन्द्रनगर) - जीएम कन्स्ट्रक्सनले दुई वर्षमा काम सक्ने गरी ०६८ मा वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा लियो । सम्झौता भएको आठ वर्ष बितिसक्यो । तर भवन निर्माण हुन सकेन । अहिले सहरी विकास तथा भवन निर्माण विभाग सुर्खेतले जीएमसँग सम्झौता रद्द गरी नयाँ सम्झौता गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभागले गरेको सिफारिसका आधारमा जीएमलाई दुई वर्षसम्म सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने गरी कालोसूचीमा राखेको छ ।
जीएमले नै निर्माणको जिम्मा लिएको सुर्खेत कारागारको भवन र जाजरकोटको दल्ली स्वास्थ्य चौकीको भवन निर्माण पनि लामो समय अलपत्र परेपछि उक्त सम्झौता पनि रद्द भएको छ । निर्माण कम्पनीले दुई वर्षभित्र १ करोड १ लाख ५३ हजारमा कटकुवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । कम्पनीले ठेक्का रद्द हुनुअघिसम्म ५३ लाख ७४ हजार भुक्तानी लिइसकेको विभागले जनाएको छ । भवन निर्माण विभागले गत असारमा केआर बिल्डर्ससँग कटकुवा स्वास्थ्य चौकी भवन निर्माणका लागि नयाँ सम्झौता गरेको छ । ८८ लाख ७७ हजार रुपैयाँ लागत रकम भवन निर्माणका लागि तोकिएको विभागले बताएको छ । सोही कम्पनी सुर्खेत कारागार भवन पनि अलपत्र छाडी भागेको छ ।
ठेकेदार सम्पर्कविहीन भएपछि कारागारको नयाँ भवन निर्माणको काम करिब नौ वर्ष अलपत्र भयो । जीएमले ०६६ असार २८ गते २ करोड ३६ लाख ९८ हजारमा निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि बीचमा काम अलपत्र पार्‍यो । कम्पनीले १ करोड ७७ लाख ४३ हजार भुक्तानी लिइसकेको विभागले जनाएको छ । नौ वर्षअघि शान्ति तथा पुनर्निर्माण मन्त्रालयको कार्यक्रमबाट कारागार भवन निर्माण सुरु भएको थियो । निर्माण कम्पनीलाई बारम्बार काम गर्न ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि कालोसूचीमा राखिएको हो । अहिले नयाँ कम्पनीसँग निर्माण सम्झौता गरिएको कार्यालयका इन्जिनियर टीकाराम पोखरेलले जानकारी दिए । २ करोड १४ लाख ५७ हजार लागतमा प्राकृतिक/हाम्रो जेभीसँग आगामी वर्ष कात्तिक मसान्तसम्म काम सक्ने गरी सम्झौता गरिएको उनको भनाइ छ । जीएमले जाजरकोटको दल्ली स्वास्थ्य चौकी भवन निर्माणका लागि पनि १ करोड २१ लाख १४ हजार रुपैयाँमा सम्झौता गरेको थियो । तर काम नभएपछि ठेक्का रद्द गरिएको छ । यो भवन निर्माणका लागि पनि उक्त कम्पनीले ३० लाख भुक्तानी लिइसकेको कार्यालयका सबइन्जिनियर नरेन्द्र बुढाले बताए । विभागले अवलचिङ प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणको पुरानो ठेक्का पनि रद्द गरेको छ । करिब सात वर्ष केन्द्रको भवन निर्माण अलपत्र पार्ने फ्रेन्ड्स कन्स्ट्रक्सन काठमाडौंलाई कालोसूचीमा राख्न सिफारिस गरिएको हो । कन्स्ट्रक्सनले २ करोड ५० लाख ४६ हजारमा ठेक्का सम्झौता गरेकामा ५९ लाख ७१ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । ‘ठेकेदारले काम नगर्दा सेवाग्राहीले सहज स्वास्थ्य सेवा पाउन सकेका छैनन्,’ इन्जिनियर पोखरेलले भने, ‘अब अलपत्र ठेक्का तोड्दै निर्माणको कामलाई तीव्रता दिन्छौं ।’
फ्रेन्ड्सले नै जिम्मा लिएको जाजरकोटको मजकोट स्वास्थ्य चौकीको काम पनि अधुरै छ । कम्पनीले रोकिएको काम सुरु नगरे कालोसूचीका लागि प्रक्रिया अगाडि बढाइने सबइन्जिनियर बुढाले बताए । ‘अवलचिङको काम नगरेका कारण कालोसूचीमा गइसक्यो,’ उनले भने, ‘मजकोटको काम पनि सुरु नगरे प्रक्रिया अगाडि बढ्छ ।’ उक्त कम्पनी कालोसूचीमा गए पनि हाल उसैले काम गरिरहेको काफलकोट स्वास्थ्य चौकी सिम्ताको काम भने चलिरहने उनको भनाइ छ । मैनाचुली/सुरुची जेभी तथा सब कन्ट्र्याक्टर मजदुर कन्स्ट्रक्सनले ०६७ असारमा निर्माणको जिम्मा लिएको सिमाराक्मा प्रसूति गृहको काम पनि सकिएको छैन । ठेकेदारले काम सुरु नगरे कालोसूचीका लागि प्रक्रिया अघि बढाइने विभागले जनाएको छ । अब लामो समय कुनै भवन अलपत्र नहुने इन्जिनियर पोखरेल बताउँछन् । यसअघि ठेकेदारले उन्मुक्ति पाउँदा निर्माणका काम अलपत्र भएका हुन् । ठेक्का सम्झौता सकिएपछि निर्माण कम्पनीले पहिलो म्यादको ५० प्रतिशत मात्रै थप म्याद पाउने कानुनी व्यवस्था भएसँगै निर्माणको काममा ठेकेदारले लापरबाही गर्न पाउने छैनन् ।
सार्वजनिक खरिद ऐन संशोधन भएसँगै काम अलपत्र पार्दै म्याद थप गरिरहने ठेकेदारलाई अब कारबाहीको दायरामा ल्याइनेछ । इकाईले सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा विभिन्न सरकारी भवन निर्माण गरिरहेको छ ।

अर्थ वाणिज्य

महासंघ सचिवालयमा व्यापार इकाई

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल उद्योग वाणिज्य महासंघ र कृषि उद्यम केन्द्रमा दिगो विकासका लागि व्यापार इकाई स्थापना गरिएको छ । दिगो विकासका लागि व्यापार इकाई नाम दिइएको उक्त इकाइ स्थापनामा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको सहयोग छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र अन्तर्राष्ट्रिय व्यापार केन्द्रका निमित्त कार्यकारी निर्देशक डोरोथी टेम्बोले शुक्रबार इकाईको उद्घाटन गरे ।

अर्थ वाणिज्य

सानिमा–आस्ट्रल सहकार्य

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सानिमा बैंक र आस्ट्रल कम्प्युटर्स नेपाल (फ्युचर बर्ल्ड) बीच एप्पलका उत्पादन खरिदमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले एप्पलका आइफोन, आइप्याड, म्याकबुकलगायत उत्पादन खरिदमा ६ हजारदेखि ७ हजार रुपैयाँसम्म छुट पाउँछन् । बैंकको क्रेडिट कार्डमार्फत १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सक्छन् । बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रलका महाप्रबन्धक नवीन जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अर्थ वाणिज्य

सेफको नवौं बैठक सुरु

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– दक्षिण एसियाली मञ्च (सेफ) को नवौं बैठक शुक्रबार चन्द्रागिरिमा सुरु भएको छ । दुईदिने बैठकमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाका रोजगारदाता संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का नेपाल तथा दिल्ली कार्यालय र नेदरल्यान्ड्स रोजगारदाता सहयोग कार्यक्रम (डीईसीपी) का पदाधिकारीको सहभागिता छ । नेपाल उद्योग वाणिज्य महासंघ, आईएलओ र डीईसीपीको सहयोगमा आयोजित बैठकमा महासंघका उपाध्यक्ष चन्द्र ढकालले दक्षिण एसिया आर्थिक विकास र लगानी आकर्षणका हिसाबले मुख्य गन्तव्यका रूपमा विकास गर्ने नेतृत्व नेपालको निजी क्षेत्रले लिनुपर्ने बताए । आर्थिक एवं सामाजिक जीवनस्तरमा समेत समान अवस्था रहेको दक्षिण एसियाली क्षेत्रलाई आगामी दिनमा विकास र यहाँ लगानीमा आकर्षित गर्न संयुक्त सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

अर्थ वाणिज्य

एनआईसीका ग्राहकलाई वाल क्लाइम्बिङमा छुट

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनआईसी एसिया बैंक र एस्ट्रेक क्लाइम्बिङ वालबीच शुक्रबार बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ । एस्ट्रेकको सेवा प्रयोगमा बैंकका ग्राहकले मोबाइल बैंकिङ, डेबिट, क्रेडिट कार्डबाट ३० प्रतिशत छुट पाउनेछन् । बैंकका कर्मचारी र परिवारले ५० प्रतिशत छुट पाउनेछन् । बैंकका वाग्मती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका महाप्रबन्धक कमल घले गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

Page 13
समाचार

शिशु च्यापेकी महिलामाथि इन्स्पेक्टरको लाठी

- जनकराज सापकोटा

(काठमाडौं) - सामाजिक सञ्जालमा शुक्रबार बिहान एउटा भिडियो भाइरल भयो । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्जसमेत रहेका इन्स्पेक्टर देवीप्रसाद पौडेलले काखमा शिशु च्यापेर दौडिरहेकी एक महिलालाई बारम्बार लाठी प्रहार गरेको दृश्य उक्त भिडियोमा थियो । बिहीबार खिचिएको यो दृश्य भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरको कम्पाउन्डभित्रको हो । प्रहरीको कुटाइ खाने महिला हुन्, हेमा श्रेष्ठ ।
पूर्वजर्नेल खत्रीले सम्बन्ध राखेर आफूलाई श्रीमतीका रूपमा नस्विकारेको भन्दै माला शाह बिहीबार बिहानै एक हूल महिलासहित घरमा धर्ना दिन पुगेकी थिइन् । त्यतिबेला खत्री घरमा थिएनन् । उनले छोरीमार्फत घरमा तोडफोड हुन लागेको खबर पाएको भन्दै नजिकैको प्रहरी प्रभागमा खबर गरे । इन्स्पेक्टर पौडेल दुई महिला प्रहरीसहितको टोली लिएर खत्रीको घर पुगे । प्रहरीले महिलाहरूलाई हटाउन खोज्ने क्रममा विवाद सुरु भयो । त्यस क्रममा इन्स्पेक्टर पौडेलले लाठी प्रहार गरेका हुन् ।
प्रहरी परिसर ललितपुरले खत्रीको घरभित्र छिरेर तोडफोड गरेको आरोपमा चार जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ पर्नेमा दोलखा चरिकोट घर भई काठमाडौं बस्ने गोमा केसी, बारा निजगढ घर भई काठमाडौं रातोपुल बस्ने माला शाह, मोरङ उर्लाबारी घर भई काठमाडौं मित्रपार्क बस्ने रूपा घिसिङ र ललितपुर भैंसीपाटीकी शोभा खड्का पक्राउ परेका हुन् ।
प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले भिडियो बाहिरिएलगत्तै प्रहरी प्रधान कार्यालयलाई फेसबुक र ट्वीटरमा ‘मेन्सन’ गर्दै व्यापक रूपमा पोस्ट भएपछि आफूहरूले यसलाई गम्भीर रूपमा लिएको बताए । ललितपुर प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईका अनुसार घटनाबारे बुझ्न एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ । उनले भने, ‘टोलीले तीन दिनभित्र प्रतिवेदन बुझाएपछि के गर्ने भन्ने निष्कर्ष निकाल्छौं ।’
डिजिटल प्लेटफर्मका गतिविधि अध्ययनमा सक्रिय प्रहरी महानिरीक्षकको सचिवालयका एक सदस्यका अनुसार यो भिडियो बिहीबार सबैभन्दा पहिला रिदम अनलाइन टीभी नामक एक युट्युब च्यानलमा अपलोड भएको थियो । यही नामको टिकटक अकाउन्टमा सानो
अंश राखिएपछि भने भिडियो भाइरल भएको थियो ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि प्रहरीले महिलालाई निर्घात कुटेको भिडियोबारे सामाजिक सन्जाल ट्वीटरमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘मान्छे बर्दी लगाउँदैमा यति अमानवीय कसरी बन्न सक्छ । आमाले गल्ती गरिहोलिन् । तर त्यो अबोध शिशुको के गल्ती थियो ? शिशु आमाको हातबाट खसेर टाउकोमा चोट लागेको भए ? गिरफ्तार गर्नैपरे समातेर
भ्यानमा हाल्न सकिन्थ्यो । ओलीराजमा सबै छोटे राजा ?’
डीआईजी थापाका अनुसार प्रहरीलाई तालिमका क्रममा बल न्यूनतम प्रयोग गर्नु भनेर सिकाइएको हुन्छ । उनले भने, ‘सकेसम्म कुटपिट नगरीकन पक्राउ गर्ने वा भीड नियन्त्रण गर्ने हो । बल प्रयोग गरियो भने पनि त्यो जस्टीफाई हुनुपर्छ ।’ उनले बिहीबारको घटनाले
प्रहरीको साखमा प्रश्न उठेको जनाउँदै यस्तो विषयमा आफूहरू झनै गम्भीर हुनुपर्ने बताए ।
प्रहरी प्रधान कार्यालयले नै घटनाबारे चासो राखेपछि प्रहरी परिसर ललितपुरका एसएसपी राईले इन्स्पेक्टर पौडेललाई बोलाएर घटनाबारे सोधपुछ गरेका थिए ।
घटना कसरी भयो ?
पूर्वजर्नेल खत्री र माला शाहबीचको विवाद नयाँ होइन । आफूसँग वर्षौंदेखि सम्बन्ध राखेर पनि श्रीमतीका रूपमा स्वीकार नगरेको आरोप शाहले लगाउँदै आएकी छन् । खत्रीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
प्रहरी परिसर ललितपुरका अनुसार गत कात्तिक २७ गते खत्रीले आफूलाई घर नजिकैको मन्दिरमा शाहसहितका तीन महिलाले कुटपिट गरेको र मोबाइल खोसेको भन्दै प्रहरी प्रभाग बुङमतीमा जाहेरी दिएका थिए । त्यसको भोलिपल्टै अर्थात् कात्तिक २८ मा शाहले खत्रीविरुद्ध जाहेरी दिएकी थिइन् । शाहले २२ वर्षदेखि दम्पतीका रूपमा बसे पनि खत्रीले आफूलाई निकालेको भन्दै नाता प्रमाणित गराइपाउँ भनेर जाहेरी दिएकी थिइन् । परिसरका एसएसपी राईका अनुसार
शाह र खत्रीबीच ६ पटक छलफल गराइएको थियो । तर दुवै पक्षले अडान नछाडेपछि प्रहरीले निष्कर्ष निकाल्न सकेको थिएन ।
‘नाता प्रमाणित प्रहरीले नगर्ने भएकाले उसले मालालाई अदालतमा जान सुझाएको थियो,’ एसएसपी राईले भने । आफूसँग खर्च नभएको र नागरिकता पनि नरहेको शाहले बताएपछि प्रहरीले उनलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने संस्था वा महिला आयोग जान भनेर सुझाएको पनि राईले बताए ।
एसएसपी राईका अनुसार केही दिनयता शाह आफ्ना समर्थकसहित हरेक दिनजसो पूर्वजर्नेल खत्रीको घर जाने गरेको देखिएको थियो । घर पुगेर होहल्ला गरेको भन्दै प्रत्येकपल्ट खत्रीले प्रहरी प्रभागमा बुङमतीमा खबर गर्थे । प्रहरीले शाहलाई पक्राउ गर्थ्यो । यसअघि पनि शाह होहल्ला गरेर शान्ति भंग गरेको आरोपमा पाँच पटक पक्राउ परेको र आइन्दा यस्तो नगर्ने सर्तमा कागज गरेर छुटेको प्रहरीले जनाएको छ ।
महिला आयोगको मुद्दा व्यवस्थापन अधिकृत विमला खड्काका अनुसार पीडित महिलाले न्यायको माग गर्दै आयोगमा पनि उजुरी गरेकी थिइन् । ‘आयोगले छलफलका लागि पूर्वजर्नेललाई बोलाएको थियो तर आएनन्’, उनले भनिन्, ‘उनलाई झिकाइदिन प्रहरीलाई आग्रह गरेपछि म बिरामी छु, पछि आउँछु भनेर पत्र पठाए ।’

समाचार

हिमपहिरोमा पुरिएका एकको शव फेला

- कान्तिपुर संवाददाता

पोखरा (कास)– अन्नपूर्ण पदमार्गमा गत माघ ३ मा आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका सातमध्ये एक जनाको शव शुक्रबार फेला परेको छ । हिमपहिरो आएको स्थल कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित देउरालीनजिक नेपाली गाइड सरोज परियारको शव भेटिएको हो ।
बेपत्ताको खोजीमा जुटेका सरोजका दाइ सन्दीप परियार र ट्रेकिङ मजदुरको टोलीले शव निकालेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले शुक्रबार मौसम प्रतिकूलताले प्रहरी टोली त्यसतर्फ पुग्न नसकेकाले शनिबार शव पोखरा ल्याउने बताए । चितवनका सरोज एक चिनियाँ पर्यटक लिएर अन्नपूर्ण आधार शिविर जाँदै थिए । बाक्लो हिमपात भएर देउरालीभन्दा माथि जान नसकेपछि फर्कने क्रममा हिमपहिरोमा उनी पुरिएका थिए । साथमा रहेकी चिनियाँ पर्यटक भने उम्कन सफल भएकी थिइन् । पहिरोमा पुरिएका चार कोरियाली र दुई नेपाली (गाइड र भरिया) अझै बेपत्ता छन् । सन्दीप पाँच दिनअघि ट्रेकिङ मजदुर र सामग्रीसहित भाइको खोजीमा निस्किएका थिए ।

Page 14
समाचार

प्रदेशले कर्मचारी भर्ना गर्ने

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– चारवटा प्रदेश लोकसेवा आयोगले चालु आर्थिक वर्षमै कर्मचारी भर्ना प्रक्रिया सुरु गर्ने सहमति गरेका छन् । लोकसेवा आयोग गठन भएका प्रदेश १, २, ५ र वाग्मतीले कर्मचारी भर्ना गर्ने सहमति जनाएका हुन् ।
हेटौंडामा शुक्रबार सम्पन्न लोकसेवा आयोगको अन्तरप्रदेश कार्यशाला गोष्ठीमा चारवटा प्रदेशका पदाधिकारी, प्रमुख सचिव र अन्य प्रदेशका कर्मचारीले निजामती सेवासम्बन्धी प्रचलित कानुनी व्यवस्थाबमोजिम पदसंख्या निर्धारण गरी पदपूर्ति गर्ने प्रतिबद्धता जनाए । कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ बमोजिम प्रदेश वा स्थानीय तहको सेवासम्बन्धी कानुन नबनेकाले उक्त कानुन नबनेसम्म पदपूर्ति गर्ने
भएको हो ।
कर्मचारी समायोजनपछि प्रदेश सरकारका निकायहरू र स्थानीय तहमा रिक्त रहेका माथिल्ला पदहरूमा भर्नाको जटिलतालाई फुकाउन संघीय निजामती सेवा ऐनमा विशेष व्यवस्था आवश्यक देखिएको हुँदा यसबारेमा लिखित रूपमा जानकारी गराउने साझा धारणा बनाइएको वाग्मती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले बताए ।

समाचार

लोकसेवा उत्तीर्ण गरेर पनि बेरोजगार

मन्त्रालयको गल्तीले १ सय २६ कर्मचारी अलपत्र
- राजेश मिश्र

(काठमाडौं) - लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेका १ सय २६ जना कर्मचारी महिनौंदेखि अलपत्र छन् । लोकसेवाले सिफारिस गरेका स्थानमा उनीहरूले काम गर्न पाएका छैनन् ।
उनीहरू सबै जना स्थानीय तहका लागि गत जेठमा भएको विज्ञापनमा परीक्षा दिएर उत्तीर्ण विभिन्न तहका कर्मचारी हुन् । ५ सय १५ स्थानीय तहले माग गरेअनुसार लोकसेवा आयोगले विभिन्न पदका ९ हजार १ सय ६१ जनशक्ति मागेको थियो । आयोगले मंसिरयता क्रमशः त्यसको रिजल्ट गर्दै आएको छ । आयोगले सिफारिस गरेर पठाएका तर स्थानीय तहले हाजिर नगराएका कर्मचारी दिनहुँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धाइरहेका छन् ।
नेपालगन्ज उपमहानगरमा सिभिल इन्जिनियर पदमा सिफारिस भएर पुगेकी आँचल शर्मालाई उपमहानगरले हाजिर गराएन । उनले परीक्षा उत्तीर्ण गरेको पदमा काम पाउन मन्त्रालयमा निवेदन दिएकी छन् तर महिनौं भइसक्दा पनि सुनुवाइ भएको छैन । ‘लोकसेवा पास गर्दा पनि केही महत्त्व नभएजस्तो भयो,’ कान्तिपुरसँग उनले भनिन्, ‘तोकिएको स्थानमा काम गर्न पाइएन । मन्त्रालयले अर्को कुनै विकल्प पनि दिएन ।’
मन्त्रालयका अनुसार नेपालगन्जले १६ जना इन्जिनियरको विज्ञापन गर्न लगाएको थियो तर लोकसेवाले सिफारिस गरेर पठाएपछि हाजिर गराउन मानेको छैन । मन्त्रालयको जनशक्ति महाशाखाका एक जना अधिकृतका अनुसार सुरुमा ठूलो संख्यामा विज्ञापन गराएको नेपालगन्जले पछि त्यत्रो जनशक्ति नचाहिने भन्न थालेकाले समस्या भएको हो । नेपालगन्जका लागि सिभिलतर्फका १४ र कम्प्युटरतर्फका दुई जना इन्जिनियर लोकसेवा उत्तीर्ण गरेर बसेका छन् ।
नेपालगन्ज उपमहानगर प्रमुख धवलशमशेर राणाले मन्त्रालयले झुक्याएर सुरुमा विज्ञापन गर्न लगाएको बताए । ‘पटक–पटक त्यत्रो जनशक्ति चाहिँदैन भन्दाभन्दै विज्ञापन गरियो,’ उनले भने, ‘हामीलाई चाहिनेजति मात्रै जनशक्ति राख्न सकिने भएकाले बाँकीलाई फिर्ता पठाएका हौं । उपमहानगरले सबैको आर्थिक दायित्व व्यहोर्ने अवस्था छैन ।’
सहायक लेखापालमा छनोट भएर काभ्रेको नमोबुद्ध नगरपालिकामा सिफारिस भएका निराजन थापाको कथा अर्कै छ । पुस २७ मा हाजिर हुन पुगेका उनलाई नगरपालिकाले फिर्ता पठाएको छ । त्यहाँ त्यस पदमा अर्का व्यक्ति कार्यरत छन् । एउटै पदमा दुई जनालाई नगरपालिकाले कामकाज लगाउन सक्ने अवस्था रहेन । पद खाली रहेकैले नगरपालिकाले विज्ञापन माग गरेको थियो तर कात्तिकमा मन्त्रालयले गरेको समायोजन संशोधनमा कर्मचारी पठाइदिएपछि पदपूर्ति भयो । लाकसेवा उत्तीर्ण भएर उत्साहित बनेका थापा यतिबेला निराश छन् । ‘मन्त्रालयबाट भएको त्रुटिको सजाय हामीले पाइरहेका छौं,’ उनले भने, ‘पदस्थापनको टुंगो नलाग्दा दिक्क भएका छौं ।’
लोकसेवाको परीक्षा उत्तीर्ण भएपछि धेरैले पहिले काम गर्दै आएका जागिर छाडेका छन् । काम र तलब नपाउँदा अहिले उनीहरू मारमा परेका छन् । भइरहेको आर्थिक स्रोत गुमेको र अर्कोको टुंगो नलाग्दा समस्या भएको थापाले बताए । प्रदेश १ मा ८, प्रदेश २ मा २२, वाग्मतीमा ३८, गण्डकीमा ६, प्रदेश ५ मा ४१, कर्णालीमा ३ र सुदूरपश्चिममा ८ जना यस्ता कर्मचारी छन् । दिनै मन्त्रालय धाइरहे पनि हाजिर गर्न पाएका छैनन् । काठमाडौंबाहिर रहेकाले मन्त्रालयमा फोन गरेर समस्या समाधान भए/नभएको सोध्ने गरेका छन् ।
आफूले सिफारिस गरेर पठाएका कर्मचारीले काम नपाएको विषयमा लोकसेवा आयोगले पनि संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीसँग चासो राखिसकेको छ । आयोगका अध्यक्ष उमेश मैनालीले आफूहरूले सिफारिस गरेकै स्थानमा सम्बन्धित व्यक्तिलाई काममा लगाउनुपर्ने बताउँछन् । ‘विज्ञापन गरिएका पदमा मन्त्रालयले समायोजनबाट कर्मचारी पठाउँदा समस्या भएको हो, यो सरासर मन्त्रालयको गल्ती हो,’ उनले भने, ‘त्यो गल्ती सच्याउने काम मन्त्रालयकै हो । केही दिनभित्रै मन्त्रालयबाट समस्या समाधान होला भन्नेमा विश्वस्त छौं ।’
मन्त्रालयले ती जनशक्तिलाई अन्यत्र खटाउन सकिने विकल्पमा छलफल गरेको छ तर लोकसेवाले मानेको छैन । त्यसरी खटाउने कानुनी व्यवस्था पनि छैन । ‘यो लोकसेवाको इज्जतको कुरा हो,’ मैनालीले भने, ‘लोकसेवाले पठाएपछि काम दिन्न भन्न पाइँदैन ।’ मन्त्रालयले आग्रह गरेपछि
सम्बन्धित स्थानीय तहले नियुक्ति दिए पनि कामकाजमा नलगाई मन्त्रालयमा फिर्ता पठाएका हो । लोकसेवाले रिजल्ट गरेर सिफारिस गरिसकेपछि जागिरमा कुनै समस्या नरहने उनले बताए ।
लोकसेवाको अडानपछि मन्त्रालयले समायोजन संशोधनबाट पछि पठाइएका कर्मचारीलाई झिकेर विज्ञापन गरिएका पदलाई रिक्त गराउन सकिने विषयमा छलफल गरिरहेको छ । तर, निष्कर्षमा पुगिसकेको छैन ।
मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव बाबुराम अधिकारीले नियुक्ति पाएर पनि कामकाज गर्न नपाएका जनशक्तिको व्यवस्थापनका सन्दर्भमा प्राथमिकतासाथ छलफल भइरहेको बताउँछन् । समायोजन भएर गएका कर्मचारीलाई चलाउँदा फेरि अर्को समस्या बल्झिने र नयाँ व्यक्तिलाई तोकिएभन्दा अर्को स्थानीय तहमा पठाउन कानुनी समस्या रहेका कारण मन्त्रालय अनिर्णीत बनेको छ । समस्या समाधानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगी त्यहाँबाट केही नीतिगत निर्णय गराउने विषयमा समेत मन्त्रालयले छलफल सुरु गरेको छ ।

Page 15
खेलकुद

असरक र शंकरनगर विजयी

- माधव ढुंगाना

(भैरहवा) - अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी (क्लब क्रिकेट) अन्तर्गत शुक्रबार बंगलादेशको असरक स्पोर्टस क्लब र शंकरनगर क्रिकेट क्लव रूपन्देही विजयी भएका छन् । असरकले सोबिज क्रिकेट क्लव काठमाडौंलाई १ सय ५ रनले पराजित गर्‍यो भने शंकरनगरले सराह क्रिकेट क्लव हैदराबाद भारतविरुद्ध ८ विकेटको जित पायो ।
सोबिजले टस जितेर फिल्डिङ रोजेपछि असरकले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय २१ रन बनायो । अली समदले ५ चौका र ८ छक्कासहित ९३ रन जोडे । डन रोबर्टसले ५ चौका र २ छक्कासहित ५४, मोहम्मद सज्जात हुसैनले २ चौका र २ छक्कासहित २२ रन बनाए । सोबिजका रवि सिंह र अभियान बस्नेतले समान २ र सुमनसिंह ठकुरीले १ विकेट लिए । २ सय २२ रनको लक्ष्यसाथ मैदान उत्रेको सोबिज क्रिकेट क्लब २० ओभरमा ४ विकेट गुमाएर १ सय १६ रनमै समेटियो । दीपक बोहराले २ चौकासहित ४४, विवेक बुढाथोकी ३ चौकासहित २९ रन र रवि सिंहले ३ चौका र १ छक्कामा २४ रन बनाए । असरकका हरप्रित चोपडाले ४ ओभरमा १३ रन खर्चेर २, एमबिए चौधरीले ३ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका थिए । असरकका अली समद म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा टस जितेको सराह क्रिकेट क्लबले ८० रनमात्र बनायो । राजले २८ बलमा ४ चौका र १ छक्का मदतमा ३० र पवनले २० रन बनाए । शंकरनगरका दुर्गेश गुप्ता, सन्दीप सुनार र शाहब आलमले समान २ विकेट, विक्रम भुसाल र अनिल खरेलले १–१ विकेट लिए । ८१ रनको लक्ष्य शंकरनगरले ९.४ ओभरमा २ विकेट गुमाई पूरा गर्‍यो । सन्दीप सुनारले ४ चौका र ३ छक्का सहयोगमा नटआउट ४५ रन बनाए । सौरभ खनालले २ चौका र २ छक्का मदतमा नटआउट २७ रन बनाए । हैदराबादका राज र बावुले १–१ विकेट लिए । सन्दीप सुनार म्यान अफ द म्याच घोषित भए ।

खेलकुद

टिममा नेपाल अगाडि

प्याराग्लाइडिङ वर्ल्डकप एसियन टुर
प्याराग्लाइडिङ वर्ल्ड कप एसियन टुरअन्तर्गत शुक्रबार टास्क पूरा गर्न सराङकोटबाट उडान भर्दै पाइलट । तस्बिर ः दीपक/कान्तिपुर

(पोखरा) - राग्लाइडिङ वर्ल्ड कप एसियन टुर २०२० अन्तर्गत चौथो दिनको छनोट खेलमा नेपाल पहिलो स्थानमा उक्लिएको छ । टिम इभेन्टतर्फ शुक्रबार टिम नेपालले दक्षिण कोरियाली टिमलाई पछि पारेको हो ।
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा प्याराग्लाइडिङ वर्ल्डकप एसियन टुर–२०२० छनोट र १९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप चलिरहेको छ । शुक्रबार ५४.२ किलोमिटरको क्रसकन्ट्री इभेन्टतर्फको ओभरअल ‘टास्क’ मा टिम नेपालले पहिलो स्थान बनाएको हो । नेपालकै अर्को टिम ‘टिम एभरेस्ट’ तेस्रो स्थानमा छ । कोरियाको टिम ‘टप अफ कोरिया’ दोस्रो स्थानमा छ ।
टिम नेपाल कुल ३७ अंकसाथ पहिलो, टिम कोरिया ३५ अंकसाथ दोस्रो र टिम एभरेस्ट ३२ अंकसाथ तेस्रो हुँदै एकअर्कालाई पछ्याइरहेका छन् । बिहीबारको खेलमा भने कोरिया पहिलो र नेपालका दुई टिम क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए । टिमतर्फ प्रत्येक देशका ४–४ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
पोखरामा जारी वर्ल्डकप एसियन टुरका प्रतियोगिता निर्देशक विमल अधिकारीका अनुसार ९४ मध्ये ५७ जनाले टास्क पूरा गरेका छन् । एकलतर्फको प्रतिस्पर्धामा भने कोरियाका जङमेन चोई १४८१ अंकसाथ पहिलो स्थानमा रहँदा कोरियाकै चियोङ हा १४५४ अंकसहित दोस्रो र नेपालका विशाल थापा १४५० अंकसहित तेस्रो स्थानमा छन् । महिला एकलतर्फ अमेरिकाकी ग्यालेन कर्क प्याट्रिक दिनको खेल सकिँदासम्म ४९९ अंक बटुलेर अग्रस्थानमा छिन् । स्विटजरल्यान्डकी सुसन स्टोफरले २२५ र कोरियाकी याना ली २१५ अंक बनाएर क्रमशः दोस्रो र तेस्रो स्थान ओगटे ।
नेपालतर्फ १९ औं च्याम्पियनसिपमा विशाल थापा १४५० अंकसाथ पहिलो, विजय गौतम १४४० अंकसाथ दोस्रो र आशिष थापा १४२३ अंकसाथ तेस्रो स्थानमा छन् । शुक्रबारको टास्कमा प्रतियोगीले सराङकोट हुँदै तोरीपानी, नौडाँडा, अर्मला, शान्तिस्तुपा, ठूलाखेत, लामा गाउँ हुँदै खपौंदीमा ल्यान्डिङ गरेको अधिकारीले बताए ।
नेपालमा आयोजना भएकामध्ये यो प्याराग्लाइडिङ प्रतियोगिता अहिलेसम्मकै ठूलो हो । प्रतियोगितामा २० देशका ९२ पाइलटले विश्वकप छनोटका लागि प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता संयोजक एवं नाका निवर्तमान अध्यक्ष योगेश भट्टराईका अनुसार नेपाली १४ पाइलटले विश्वकप छनोटमा भाग लिएका छन् । ८ विदेशी महिला पाइलटसमेत प्रतिस्पर्धी छन् ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आयोजित प्रतियोगितामा छनोट भएका खेलाडीले विश्वकपमा पुग्न एसियाका ३ देशमा हुने विभिन्न चरणका खेलमा जित्नुपर्छ । नाका अध्यक्ष कृष्ण भण्डारीले शनिबारसम्म प्रतियोगिता सञ्चालन भएपछि विश्वकप टुर र नेपालतर्फको च्याम्पियनसिप विजेता खेलाडीलाई पुरस्कृत गरिने बताए । उनले भने, ‘प्रतियोगिताको मुख्य उद्देश्य एसियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सुपर फाइनलमा सोझै प्रवेश दिनु हो ।’ विश्व हवाईखेलकुद महासंघ (एफएआई) ले एसियन प्याराग्लाइडिङ वर्ल्डकप एसोसिएसमातहातमा रहेर सन् २०२० का लागि नेपाल, चीन र इन्डोनेसियामा गरी ३ देशमा आयोजना गर्न स्वीकृति दिएको हो । विश्वकपको सुपर फाइनल भने २०२१ मा फ्रान्समा हुनेछ ।

‘लाइफ ट्र्याकर’ को प्रयोग
प्रतियोगितामा खेलाडीले उडान भरिरहेका बेला सबै जानकारी लिन ‘लाइफ ट्र्याकर’ यन्त्रको प्रयोग गरिएको छ । नेपालमा प्याराग्लाइडिङ प्रतियोगितामा ‘लाइफ ट्र्याकर’ को प्रयोग पहिलोपल्ट भएको हो । लाइफ ट्र्याकरको चिप प्रत्येक खेलाडीसँग रहन्छ । खेलाडी वा पाइलटले उडान भरिरहको सम्पूर्ण दृश्य समेत सोझै मोनिटरबाट हेर्न मिल्छ । यसका कारण प्याराग्लाइडिङलाई सुरक्षितसँगै नतिजा प्राप्त गर्न निकै सहज हुने नाका कृष्ण भण्डारीले बताए ।
प्याराग्लाइडिङ प्रतियोगितालाई पूर्ण रूपमा सुरक्षित बनाउन नेपाली सेनाले सहयोग गरिरहेको छ । सम्भावित दुर्घटना मध्यनजर गर्दै सेनाले उद्धारका लागि हेलिकप्टरको प्रयोग गरेको छ । प्रमुख सेनानी अर्जुन बस्नेतले अन्तर्राष्ट्रिय खेलमा सेनाको पनि साथ रहेको सन्देश दिन सहयोग गरेको बताए । ‘यो हाम्रो लागि गौरवको कुरा हो,’ उनले भने, ‘साहसिक खेलकुदमार्फत देशलाई परिचित गराउन पाउँदा खुसी लागेको छ ।’ सेनाको चिकित्सक टोलीसमेत प्रतियोगितामा खटिएको छ । उद्धारका लागि विभिन्न स्थानमा सेना खटिएका छन् ।

प्यादीपक परियार

खेलकुद

हिमालयन शेर्पाको टाइब्रेकर जित

- कान्तिपुर संवाददाता
गोर्खाका सुजित बुढाथोकीको पेनाल्टी बचाउँदै हिमालयनका गोलकिपर टेकेन्द्र थापा । तस्बिर ः केशव थापा/कान्तिपुर

(धनगढी) - हिमालयन शेर्पा क्लबले गोर्खा ब्वाइज रूपन्देहीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै नेपाल आइस आमन्त्रण खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शेर्पाको जितसँगै प्रतियोगिता सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार पहिलो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले विभागीय टोली एपीएफ क्लब प्रतिस्पर्धा गर्नेछ । आइतबार दोस्रो सेमिफाइनलमा थ्रीस्टार र हिमालयन शेर्पाको भेट हुनेछ ।
धनगढीको रंगशालामा शुक्रबार निर्धारित समयको खेल गोलरहित भएपछि टाइब्रेकरबाट खेलको छिनोफानो गराइएको थियो । टाइब्रेकरमा शेर्पाका गोलरक्षक टेकेन्द्र थापा नायक बने । उनले गोर्खा ब्वाइजका सुजित बुढाथोकीको प्रहार बचाए । गोर्खाबाट हरि कठायत, अनिश तामाङ, रुपबहादुर लामा र उत्तम गुरुङले गोल गरे । शेर्पाबाट उर्लिच सिवाई, आशिष गुरुङ, दिवश उराँव, भिषण गुरुङ र विकास राईले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच शेर्पाका टेकेन्द्र थापा भए । उनले १० हजार रुपैयाँसहित ट्रफी पाए ।
हिमालयन शेर्पाका म्यानेजर सुशील तामाङले धेरै प्रतियोगिता खेलेका कारण खेलाडीले स्कोर गर्न नसक्दा जितका लागि टाइब्रेकर कुर्नुपरेको बताए । ‘खेलाडीहरूले आराम पनि पाएका थिएनन् । मैदान पनि कठिन भएकाले स्ट्राइकर पनि घाइते थिए । निर्धारित समयमा हाम्रो स्कोर हुन सकेन,’ उनले भने, ‘तर पेनाल्टीमा किपर राम्रो प्रदर्शन गरे र नतिजा हाम्रो पक्षमा आयो ।’
गोर्खा ब्वाइजका प्रशिक्षक प्रदीप आचार्यले राम्रो खेलेको भए पनि पाएका मौकामा चुक्दा हार बेहोरेको बताए । ‘राम्रो खेल्यौं तर पाएका चान्स गुमायौं,’ उनले भने, ‘वान भर्सेस वानमा पनि स्कोर हुन सकेन । त्यो भएको भए खेलले अर्कै मोड लिन्थ्यौं ।’ शनिबार आयोजक सुदूरपश्चिम–११ र एपीएफ क्लब भिड्ने छन् ।

खेलकुद

केसीटीसीविरुद्ध ग्रेट हिमालय

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ओएसिस क्रिकेट एकेडेमीमाथि एक इनिङ्स र ३१ रनको जित रच्दै काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) ले यू–१९ स्तरको दुई दिवसीय हिमालय क्रिकेट लिगको फाइनलमा स्थान बनाएको छ । उपाधिका लागि सेन्टरले ग्रेट हिमालय क्रिकेट एकेडेमीको सामना गर्नेछ ।
विपिन आचार्यको अर्धशतकीय योगदानपछि पहिलो इनिङ्समा १ सय ९० रन बनाएको काठमाडौंले त्यसपछि ब्याटिङ गर्नुपरेन । स्पिनर सूर्य तामाङले सानदार बलिङ गरेपछि ओएसिसले दुवै इनिङ्समा प्रभावशाली ब्याटिङ गर्न सकेन ।
पहिलो इनिङमै ४१–५ को स्थितिबाट दोस्रो दिनको सुरु गरेको ओएसिसले शुक्रबार १५ विकेट खेर फाल्यो । पहिलो इनिङ्समा ८१ रनमा अलआउट भएपछि फलोअनमा परेको ओएसिस दोस्रो इनिङ्समा पनि खराब लय जारी राख्दै ३० ओभरमै ७८ रनमा समेटियो ।
काठमाडौंका सूर्यले ८ मध्ये ५ विकेट दोस्रो दिन लिएका थिए । उनले १५ ओभरमा २ मेडन राख्दै २८ रन खर्चे । दोस्रो इनिङ्समा १४ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै ३३ रन खर्चेर ५ विकेट लिएका हुन् । समग्रमा १३ विकेट लिएका उनी म्यान अफ द म्याच चुनिए । दोस्रो इनिङ्समा काठमाडौंका तिलक भण्डारीले पनि ५ विकेट झारे । उनले ८ ओभरमा २० रन खर्चिए । काठमाडौं समूह ‘ए’ बाट विजेता भएर फाइनल पुगेको हो । समूह ‘बी’ बाट ग्रेट हिमालय विजेता बन्यो । यी दुईबीच उपाधि भिडन्त आइतबार सुरु हुनेछ ।

खेलकुद

आयोजक माईभ्याली सफल

- कान्तिपुर संवाददाता

(इलाम) - छैटौं माईभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार आयोजक माईभ्याली फुटबल क्लबले पाहुना टोली सिक्किमको गान्टोक फुटबल क्लबलाई २–० ले पराजित गरेको छ । सिक्किमलाई पहिलो चरणबाटै घर फर्काउने क्रममा आयोजकका जोर्डन जुनियर डेम्बेलेले गोल गरे । दुवै गोल उनको नाममा रह्यो ।
खेलको पाँचौं मिनेटमा जोर्डनको गोलबाट माईभ्यालीले अग्रता लियो । सिक्किमका कुनाल तामाङको गल्तीमा शिशिर लेखीले निकालेको पासलार्ई जोर्डनले गोलमा परिणत गरे । इन्ज्युरी समयमा उनले अर्को गोल थप्दै टिमको जित सुनिश्चित बनाए । विशाल तामाङले निकालेको बलमा ‘अनमार्क’ जोर्डनले भलीमार्फत सिक्किमका गोलरक्षक पिन्टसो शेर्पालाई नघाएर गोल गरे । माईभ्यालीका शिशिर लेखी म्यान अफ द म्याच घोषित भए ।
माईभ्यालीमा रहेर खेल निखारेका राष्ट्रिय टिमका छिरिङ गुरुङ, राष्ट्रिय लिगमा राइजिङ प्लेयर घोषित दर्शन गुरुङ, सरस्वती क्लबमार्फत व्यावसायिक फुटबल खेलिरहेका मनीष थापा, तीन अफ्रिकनसहित मैदान उत्रिएको आयोजकको ६ संस्करणमा यो दोस्रो जित हो । यसअघि चौथो संस्करणमा माईभ्याली पोखराको सहारा क्लबलाई पराजित गर्दै दोस्रो चरण पुगेको थियो ।
माईभ्यालीका प्रशिक्षक दर्शन भक्तराजले विभिन्न क्लबमा रहेर खेलिरहेका खेलाडीलाई खेलाउँदा तालमेल मिलाउन समस्या भएको बताए । गान्टोकका प्रशिक्षक मायलदोक लेप्चाले अनुभवी ५ खेलाडी गुवाहाटीमा बन्द प्रशिक्षणमा रहेको र मैदानको अनुभव कम भएकाले जित हात पार्न नसकेको बताए । शनिबार दुईपटकको माईभ्याली विजेता झापा ११ र एमएफसी दार्जिलिङबीच प्रतिस्पर्धा हुनेछ ।

खेलकुद

दमक सुपर लिग हुने

- कान्तिपुर संवाददाता

दमक (कास)– दमक क्रिकेट क्लब र पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरले चैत २९ देखि दुई दिवसीय यू–१६ क्रिकेट दमक सुपर लिग गर्ने भएको छ । ६ टोलीको सहभागिता रहने प्रतियोगिता १५ दिनसम्म दमकमा चल्ने । सहभागी टोलीलाई दुई समुहमा विभाजन गराएर खेलाइने छ । पेट्रियोटिक, सुनसरी जिल्ला क्रिकेट संघ, विराटनगर क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एकेडेमी, ओएसिस क्रिकेट एकेडेमी छन् । एक टोलीको सहभागिता बाँकी रहेको आयोजक दमक क्रिकेट क्लबका अध्यक्ष अविस खनालले जनाएको छ । प्रतियोगिता संयोजक रोशन धितालले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का प्रतियोगिता प्रवर्द्धनका लागि सद्भावना दूत रहने दाबी गरे ।

खेलकुद

टाइम्स सेमिफाइनलमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– टाइम्स कलेज प्रथम रोयल राष्ट्रव्यापी यू–२३ पुरुष बास्केटबलमा शुक्रबार सेमिफाइनल पुगेको छ । टाइम्सले जेभियरलाई ७५–३३ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको छ । टाइम्सका मविन्द्र भण्डारीले २३ स्कोर जोडे । सोही समूहबाट गोल्डेनगेट उपविजेता भएर अगाडि बढ्यो । आयोजक रोयल सेन्ट्रल स्पोर्ट्सले सोलो बास्केटबल नेपाललाई ७१–६६ तथा कास्कीले बापेकलाई ७९–५७ ले हराए । रोयलका निकेश मगरले २० र कास्कीका जिमेन पुनले २५ स्कोर गरे ।

खेलकुद

एलएलाई लोयल्टी कप

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– लिटिल एन्जल्स (एलए) ले दसौं लोयल्टी कप अन्तरस्कुल जुनियर छात्र फुटबलको उपाधि जितेको छ । शुक्रबार आयोजक लोयल्टी एकेडेमीको मैदानमा सम्पन्न फाइनलमा साबिक विजेता एलएले सिद्धार्थ वनस्थलीलाई ३–० ले हरायो । एलएले लगातार तेस्रोपल्ट उपाधि जित्दा म्यान अफ द म्याच तुसानमान सिंहले २ गोल गरे । प्रसुन तुलाधरले एक गोल थपे ।डिफेन्समा एलएका दिवस घर्ती मगर, मिडफिल्डमा वनस्थलीका जेनिश रेग्मी, स्ट्राइकरमा एलएका प्रसुन तुलाधर, प्रशिक्षकमा एलएका राजेन्द्र कार्की र गोलरक्षकमा वनस्थलीका अनिकेत तामाङ उत्कृष्ट चुनिए । 

Page 16
खेलकुद

१०० विकेटको संघार

- विनोद पाण्डे
‘सय विकेटलाई लिएर उत्साही छु । यो मेरो ठूलो सफलता हुनेछ । तर सय विकेटलाई लिएर मात्र म खुसी हुने छैन’

(काठमाडौं) - ठ्याक्कै दुई वर्षजति अगाडि हो सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो पहिलो खेलको प्रतीक्षामा निकै व्यग्र थिए । तत्कालीन दिल्ली डेयरडेभिल्स आईपीएलको प्लेअफ दौडबाट बाहिरिइएपछि मात्र हो टोलीले सन्दीपलाई मौका दिएको । बाँकी सबै इतिहास बन्यो ।
सन्दीपले आईपीएलमा आफ्नो पहिलो खेलमै रोयल च्यालेन्जर्स बेंग्लोरका पार्थिव पटेललाई एलबीडब्लु आउट गरे । उनको यो विकेटयात्रा शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा अनुपम कोसेढुंगामा परिणत हुनेछ, उनले मलेसियाविरुद्धको हुने खेलमा एक विकेटमात्र लिन सके । ट्वान्टी–२० मा त्यो विकेटले सन्दीपको १०० विकेट पूरा हुनेछ । यस्तो उपलब्धि हात पार्ने उनी नेपालको पहिलो खेलाडी बन्नेछन् ।
सन्दीपले आईपीएल २०१८ को सिजनमा अन्तिम तीन खेलमा मौका पाए । त्यसमा ५ विकेट लिए । आईपीएलमा पाएको त्यस ‘ब्रेक थ्रु’ र आफ्नो प्रतिभाका कारण सन्दीपलाई विश्वका लगभग सबै ठूलो फ्रेन्चाइज क्रिकेटमा खेल्न बाटो देखाइदियो । त्यसयता उनले क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिग बास, बंगलादेश प्रिमियर लिग, अफगान प्रिमियर लिग, टी–१० लिग, ग्लोबल लिग क्यानडामा खेलिसकेका छन् ।
‘यति चाँडो १ सय विकेट नजिक पुग्छु भनेर आस गरेको थिइनँ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको जुनखाले खेलतालिका थियो त्योअनुसार खासै खेल्न पाइँदैनथ्यो । त्यसैले यो यात्रा अविश्वसनीय छ,’ सन्दीपले बैंककबाट कान्तिपुरसँग भने, ‘१ सय विकेटलाई लिएर उत्साही छु । यो मेरो ठूलो सफलता हुनेछ तर १ सय विकेटलाई लिएर मात्र म खुसी हुने छैन । त्यसपछिे अर्को १ सय विकेट र आफ्नो खेलजीवन टुंग्याउँदा ५ सय विकेटको लक्ष्य राखेको छु ।’


आईपीएलको ‘डेब्यु’ सन्दीपको सबैभन्दा स्मरणीय क्षण हो । नहोस पनि कसरी । दिल्लीबाट खेल्नु अघिसम्म उनीसँग ट्वान्टी–२० को कुनै अनुभव थिएन । उनले नेपालबाट पनि ट्वान्टी–२० खेल्नु अघि नै आईपीएलमा मौका पाएका थिए । त्यसैले ट्वान्टी–२० मा उनको ‘डेब्यु’ आईपीएलमा हुन पुग्यो । अर्को अनौठौ के थियो भने नेपालबाट ५० ओभरको खेलमा उनले कहिल्यै पहिलो ओभर त के नयाँ बल पनि फालेका थिएनन् । रोयल च्यालेन्जरविरूद्ध सन्दीपले पहिलो ओभर बलिङ गरेका थिए । ‘नेपालबाट ट्वान्टी–२० खेल्नु अघि नै मैले आईपीएलमा खेलिसकेको थिएँ, अहिले सम्झदा मलाई यो कस्तो कस्तो लाग्छ, अनौठौं र अप्ठयारो पनि लाग्छ,’ सन्दीप यसलाई अचम्मको कथा मान्दै भन्छन्, ‘यसले पनि हामी कति पछाडि छौ भनेर देखाउछ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा त्यत्ति खेर ट्वान्टी–२० खेल्न पाइरहेको थिएन, त्यसैले मैले पहिलो मौका आईपीएलमा पाएँ ।’
ट्वान्टी–२० अन्तर्राष्ट्रिय यात्राको कथा पनि यस्तै नै छ । उनले आफ्नो पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल विश्व ११ बाट खेले । विश्व ११ बाट इंग्ल्यान्डको लर्डसमा सन्दीपले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेल खेलेका थिए । नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उनले खेलेको लर्डसमै नेदरल्यान्ड्सविरुद्ध हो । बाँकीको १६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल उनले गत वर्ष खेलेका हुन् । त्यसमा उनले २८ विकेट लिए । वर्ष २०१९ मा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिनेमा उनै सन्दीपसहित नेपालकै करण केसी र नेदरल्यान्ड्सका ब्रेन्डन ग्लोभरको समान २८ विकेट थियो ।
बाँकी सबै ७१ ट्वान्टी–२० विकेट उनले फ्रेन्चाइज क्रिकेटमा ५६ खेल खेल्दै लिएका हुन् । अघिल्लो महिना सम्पन्न बिग बास लिग सन्दीपले प्रदर्शनको हिसाबमा पाएको सबैभन्दा ठुलो प्रतियोगिता हो । राष्ट्रिय टोलीबाट खेल्न नेपाल फर्किनुअघि उनले मेलबर्न स्टार्सबाट खेल्दै १३ खेलमा १५ विकेट लिएका थिए । गत सिजनको बिग बास र पाकिस्तान सुपर लिगमा यसअघि उनले ११–११ विकेट लिएका थिए । सन्दीपले खेल्दासम्म मेलबर्न शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको थियो । उनी नेपालबाट क्रिकेट विश्वकप छनोट लिग २ खेल्न काठमाडौं फर्किएपछि मेलबर्नको प्रदर्शन पनि ओरालो लाग्यो र यसपटक पनि टोली फाइनलमा पराजित भयो । नेपाल फर्किनुअघि नै सन्दीपले मेलबर्नबाट अन्तिम दुई खेलमा १ विकेटमात्र लिन सके । नत्र उनको १०० विकेट कोसेढुंगा बिग बासमै पुगिसक्थ्यो । ‘सायद नेपालबाट खेल्दै एक सय विकेट पुग्नु लेखेकाले होला, मैले बिग बासमा अन्तिम दुई खेलमा एक विकेटमात्र लिन सकें,’ उनी १०० विकेट पुग्नेक्रमको संयोग देखाउँछन् ।
अक्टोबरमा ओमानमा भएको पाँच राष्ट्रसम्मिलित प्रतियोगितामा नेदरल्यान्ड्ससँग ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिनु सन्दीपको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन हो । पाकिस्तान सुपर लिगमा लाहोर कालन्दर्सबाट खेल्दै दुबईमा क्वेटा ग्लाडियटर्सविरुद्ध ४ ओभरमा १० रनमात्र खर्चेर १० विकेट लिनु सन्दीपको ट्वान्टी–२० मा उत्कृष्ट बलिङ प्रदर्शन हो । फ्रेन्चाइज क्रिकेटको पारिश्रमिकको पनि सन्दीपको प्रदर्शनजस्तै आकासिँदो छ । उनले इंग्ल्यान्डमा जुलाईमा द हन्ड्रेड खेल्दैछन् र त्यसवापत उनले १ लाख पाउन्ड पारिश्रमिक पाउनेछन् । नामिबियासँग विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्दै सन्दीप राष्ट्रिय टोलीमा प्रवेश गरेका थिए । त्यसयता उनी टोलीका प्रमुख बलर रहँदै आएका छन् । सन्दीपले फ्रेन्चाइज क्रिकेट खेलेर बटुलेको अनुभव र उनको उपस्थिति आफ्नो टोलीका लागि ठूलो आधार रहेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् । ‘सन्दीप हाम्रो टोलीका प्रमुख खेलाडी हुन्, उनले विश्व भरीका ट्वान्टी–२० खेल्दै आएका छन् र उनीसँग धेरै अनुभव छ । उनीजस्ता खेलाडी टोलीमा हुनु भनेको बोनस हो,’ ज्ञानेन्द्रले एसियाली क्रिकेट परिषद् (एसीसी) को आधिकारिक वेबसाइटमा भनेका छन् ।


मलेसियासँग नेपालको पहिलो खेल
नेपालले एसीसी पुरुष इस्टर्न रिजन क्रिकेटमा शनिबार बैंककमा मलेसियाको सामना गर्नेछ । इस्टर्न रिजन सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कपको छनोटको पहिलो खुड्किलो हो । इस्टर्न रिजनमा नेपाल र मलेसियासहित थाइल्यान्ड, हङकङ, सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् । यसको शीर्ष दुई टोलीले अगस्टमा मलेसियामा हुने एसिया कप छनोटमा प्रतिस्पर्धा गर्न पाउने छ ।
इस्टर्नको दुई टोली र वेस्टर्न रिजनका शीर्ष दुई टोली यूएई र कुवेतले एसिया कप छनोटमा प्रतिस्पर्धा गर्नेछन् । त्यसको विजेताले भारत, पाकिस्तान, श्रीलंका, बंगलदेश र अफगानिस्तानसँग खेल्नेछ । एसिया कप प्रत्येक दुई वर्षमा आयोजना हुन्छ र एक संस्करण एकदिवसीय र अर्को संस्करण ट्वान्टी–२० हुने गरेको छ । यसपालि ट्वान्टी–२० संस्करण हुन लागेको हो ।
कोरोना भाइरसका कारण चीन, भुटान र म्यानमारले नाम फिर्ता लिएपछि इस्टर्न रिजनमा ५ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले आइतबार हङकङसँग, बुधबार आयोजक थाइल्यान्डसँग र शुक्रबार सिंगापुरसँग खेल्दै छ । अगस्टमा सिंगापुरमै भएको विश्व ट्वान्टी–२० छनोटको एसिया क्षेत्रमा सिंगापुर र कतारसँग पराजित भएपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।
एक सय विकेटको संघारमा रहेका सन्दीपले मलेसियासँगको तीन ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५ विकेट लिएका छन् ।

 

खेलकुद

दुई पूर्वविजेताको उपाधि होड

- प्रदीप मेन्याङ्बो
बुढासुब्बा गोल्डकप ट्रफीसाथ मनाङका टोपे फुजा र कमल श्रेष्ठ तथा पुलिसका जुमनु राई र दिनेश गुरुङ । तस्बिर ः प्रदीप/कान्तिपुर

(सुनसरी) - बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको ट्रफी कस्को पोल्टामा पर्छ भन्ने निधो शनिबार हुँदै छ । धरान रंगशालामा उपाधिका लागि मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच आमनेसामने हुनेछन् । दार्जिलिङको युनाइटेड कर्स्याङ फुटबल क्लब (यूकेएफसी) लाई २–० गोल गर्दै मनाङ बुढासुब्बा गोल्डकपको उपाधि दाबेदार भएको हो । मनाङले बुढासुब्बा तीनपल्ट जितिसकेको छ ।
उता लिग विजेता मछिन्द्र फुटबल क्लबलाई सडनडेथमा पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । पाँचपल्ट च्याम्पियन विभागीय टोली पुलिसमा यसपालि खेलिरहेका खेलाडीमध्ये तीन जनामात्र अनुभवी र परिचित अनुहारका छन् ।
धराने भूमिमा कप्तान जुमनु राई, भोला सिलवाल र सुमन सुवेदी परिचित छन् भने बाँकी सबै नयाँ अनुहार हुन् । पुलिसले आफ्ना सिनियर टिमलाई सर्वाधिक २१ लाख १ रुपैयाँ पुरस्कार राशिको सुदूरपश्चिमको खप्तड गोल्डकपमा उतारेपछि १० लाख रुपैयाँ पुरस्कार राशि भएको पूर्वको बुढासुब्बा गोल्डकपमा जुमनु, भोला र सुमनको अगुवाईमा नयाँलाई धरान रंगशालामा उतारिरहेको छ । तर खप्तड गोल्डकपमा विभागीय प्रतिद्धन्दी एपीएफ क्लबसँग क्वाटरफाइनलमै पराजित भएपछि पुलिसको नजर बुढासुब्बामा केन्द्रित बनेको छ ।
धरान रंगशालामा दर्शकको हुटिङ रहनेमा कुनै दुईमत छैन । हुटिङलाई खेल जित्ने प्रेरणाको रूपमा लिएर मैदान उत्रने तयारीमा रहेको पुलिसका प्रशिक्षक दिनेश गुरुङले बताए ।
पुलिसले खप्तडबाट सिनियर टोलीका खेलाडीलाई रातारात बोलाएर उतार्ने दर्शकको अनुमानको विपरीत यथावत टिमसेटलाई नै खेलाउने कप्तान जुमनु राईले बताए । उनले भने, ‘वास्तवमा धरानमा उतारिएको खेलाडीमा हामी तीन (भोला, सुमन र जुमनु) बाहेक सबैका लागि ठूलो प्रतियोगितामा पहिलोपल्ट उपाधि जितको अनुभव बटुल्ने अवसर जुरेको छ । बुढासुब्बामा उनीहरू ठूलो प्रतियोगिताको अनुभव संगाल्दै छन् । अनुभव कम भए पनि उनीहरू पुलिस टिममा लगातार प्रशिक्षण लिइरहेका खेलाडी हुन् । त्यसैले हामीले फाइनलमा उनीहरू नै मौका दिनेछौं ।’ कप्तान जुमनुले मनाङसँग काउन्टर अट्याक गर्ने रणनीति बनाएको बताए ।
धरानमा उतारिएका पुलिस टिममा नयाँ अनुहार मात्र नभएर फुटबलमा अवसर नपाएर बसेका तर जोश र जाँगरले भरिएकाले युवा खेलाडी रहेकाले उपाधि जित्ने जुमनुको दाबी थियो । उनले भने, ‘मनाङसँग यो टिमको भेट नयाँ हुनेछ । उनीहरूसँग खेल्न हाम्रा खेलाडी आतुर छन् । मनाङ बलियो टिम हो । त्यसैले उसलाई कमजोर ठानेर मैदानमा गल्ती गर्दैनौं ।’
क्वाटरफाइनलमा मुख्यमन्त्री कप विजेता मोरङको बेलबारी फुटवल क्लवलाई ४–० ले हराएर सेमिफाइनलमा पुगेको मनाङले भारतको यूकेएफसीलाई २–० ले हराउँदै फाइनल पुगेको हो । प्रतियोगिताकै बलियो टिम मानिएको मनाङ ‘ए’ डिभिजन लिगमा तेस्रो भएको थियो ।
मनाङका कप्तान कमल श्रेष्ठले फाइनलमा आफ्नो टिमको रणनीति परिवर्तन हुने बताए । उनले भने, ‘हाम्रो रणनीति पुलिससँगको खेलमा परिवर्तन हुन्छ । सायद दुई खेलाडी परिवर्तन हुनेछन् । पुलिस टिम पहिलेदेखि नाम चलेको टिम भए पनि उपाधिका लागि हामी बलियो प्रतिद्वन्द्वी हौं ।’
मनाङसँग अन्जन विष्ट, रन्जन विष्ट, दयानन्द सिं र विमल रानासहित विदेशी खेलाडीको पनि साथ छ । प्रशिक्षक टोपे फुजाले आफ्ना खेलाडीलाई काउन्टर अट्याकिङ र डिफेन्सिभ रणनीतिका साथै स्कोर गर्ने अभ्यस्त पारेकाले बुढासुब्बाा गोल्डकपको उपाधि जित्ने कप्तान कमलको दाबी छ । उनको भनाइलाई सही थप्दै प्रशिक्षक फुजाले भने, ‘फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । हामीसँग पनि युवा जोशले भरिएका खेलाडी छन् । त्यसले गर्दा उनीहरूले उपाधिका लागि उत्कृष्ट प्रदर्शन दिनेछन् ।’

खेलकुद

राष्ट्रिय कुङफु सुरु

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल उमा कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगितामा विभिन्न १९ जिल्लाका २ सय १५ खेलाडीले विभिन्न ४५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । यसै प्रतियोगिताबाट नेपालमा हुने एसियाली उमा कुङफु च्याम्पियनसिप, भारतमा हुने विश्व कुङफु च्याम्पियनसिप र ग्रिसमा हुने उमा विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिनेछ । तीनै च्याम्पियनसिप सन् २०२० मा हुनेछ । प्रतियोगिताको
प्रदर्शनका आधारमा उत्कृष्ट २० खेलाडी छनोट गरी चीनमा प्रशिक्षणका लागि पठाइने आयोजक संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।
पहिलो दिन यू–१४ पुरुष एकल प्याटर्नको बेयर ह्यान्डमा सोलुखुम्बुका प्रतीक राई विजेता भए । ललितपुरका ऋषभदेव खड्का दोस्रो तथा रामेछापका मिङमा तामाङ र काठमाडौंका निर्भान कार्की तेस्रो भए । सोही स्पर्धाको वेपनमा पनि प्रतीकले स्वर्ण जिते । उनले रामेछापका मिङमालाई पछि पारे । त्यस्तै १४ वर्षमाथि पुरुष एकल बेयर ह्यान्डमा मोरङका अश्विन चौधरी पहिलो, रामेछापका सिवान सुनुवार दोस्रो तथा सिन्धुपाल्चोकका सन्तोष सिग्देल र दोलखाका सुरेन्द्र थापा मगर तेस्रो बने ।
यू–१४ ग्रुप प्याटर्नको पुरुषमा उदयपुरका युसान राई, दोलखाका सुकदेव तामाङ र उदयपुरका सनम राईको टोली विजेता भयो । महिला एकल बेयर ह्यान्डमा सोलुखुम्बुकी रेखा राईले स्वर्ण, उदयपुरकी पार्वती मगरले रजत तथा ललितपुरकी रिश्मासिंह शाह र काभ्रेकी प्रज्ञाश्री शाक्य तेस्रो भए । वेपनमा खोटाङकी मनकला राई पहिलो, सोलुखुम्बुकी रेखा राई दोस्रो तथा काठमाडौंकी साइना महर्जन र ओखलढुंगाकी सिर्जना बोगटी तेस्रो स्थानमा रहे ।
यू–३० ताइची महिला ग्रुप स्पर्धामा तनहुँका जमुना गुरुङ, नुवाकोटका अनुष्का तिवारी र प्रेमकुमारी तामाङ तथा काठमाडौंकी निकिशा पौडेलसम्मिलित टोलीले स्वर्ण जित्यो ।

खेलकुद

सिन्धुलीमा ब्याडमिन्टन सुरु

- कान्तिपुर संवाददाता

सिन्धुली (कास)– नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सैनिक दिवसलक्षित गरी शुक्रबार यहाँ सिन्धुलीगढी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । यो जिल्लामा भएको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो । तीनदिन चल्ने प्रतियोगितामा देशका १ सय ५० खेलाडीले भाग लिएको प्रतियोगिता आयोजक समितिका संयोजक छत्र बम्जनले जनाए । मेन्स सिंगल र डबल्स, मिक्स्ड डबल्स र भेट्रान डबल्ससहित चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीका अध्यक्ष मीनकुमार दाहालले सिंगल्स विजेताले ५० हजार दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । डबल्स विजेताले ५० हजार, दोस्राले ३० हजार र तेस्रोले २० हजार, मिक्स्ड डबल्स विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार तथा भेट्रान्स डबल्स विजेताले ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ पाउने छन् ।

खेलकुद

मल्पी च्याम्पियन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– साबिक विजेता मल्पी पाँचौं काष्ठमण्डप कप ए लेभल अन्तरकलेज छात्र बास्केटबलमा शुक्रबार च्याम्पियन बनेको छ । आयोजक काष्ठमण्डपमा भएको फाइनलमा मल्पीले नामीलाई ७–६ स्कोरले पराजित गर्‍यो । मल्पीका पविन राई र आर्यन शर्माले समान ३–३ तथा मनीष श्रेष्ठले १ स्कोर जोडे । मल्पी लगातार चौथोपल्ट विजेता बन्यो । विजेता र उपविजेता दुवै टोलीका प्रशिक्षक राष्ट्रिय बास्केटबल खेलाडी रोबिन खत्री हुन् । शुक्रबारैसेमिफाइनलमा मल्पीले चेल्सीलाई १२–८ र नामीले र आयोजक काष्ठमण्डप ‘ए’ लाई २१–१९ ले हराएका थिए । मल्पीका आर्यन शर्माले ८ र नामीका आङ फुर्वाले १८ स्कोर गरे । मल्पीका आर्यन शर्मा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

खेलकुद

सुचुको ह्याट्रिक

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– फरवार्ड सुचु गुरुङको ह्याट्रिकसँगै नयाँबस्ती युवा क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार झम्सीखेल युवा क्लबलाई ५–१ ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सजन राईले १५ औं मिनेटमा गोलको खाता खोल्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । त्यसपछि सुचुले २१, ३९ र ७८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । नयाँबस्तीको पाँचौं गोल सुमन युंग्यले ८१ औं मिनेटमा गरे । मदन स्याङ्तानले झम्सीखेलका लागि गरेको गोल ४२ औं मिनेटमा सम्भव भयो । दिनको पहिलो खेलमा खुमलटारले आरसीटीमाथि ३–० को जित निकाल्यो । महेश राईले २८ औं मिनेटमा पहिलो गोल गरे । बाँकी दुई गोल कप्तान सविन केसीले गरे । उनले ३८ र ६२ औं मिनेटमा बललाई पोस्टको दिशा दिएका थिए ।

Page 17
कोसेली

चिहानमा कदमको रूख

- भूपाल राई

जन्मको तहगत व्यवस्थाअनुसार, म मेरो परिवारको कान्छो सदस्य होइन । कम्तीमा मैले होस सम्हालेदेखि नै म त्यो थिइनँ । तर, लगभग ७–८ वर्षको उमेरमा पुगेपछि मलाई मेरो परिवारले एक्कासि ‘कान्छा’ भनी बोलाउन थाले । पछि गाउँ–समाजले पनि त्यसैलाई अनुसरण गर्ने भइहाल्यो । त्यसो त किराती परिवार वा समाजमा वर्णव्यवस्थाको तहगत प्रणाली छैन । सीधा भाषामा भन्दा किरातीमा जातभातको भेद–विभेद पाइँदैन । तर, जन्मँदाको सोपान–शृंखलाको प्रभाव भने यो समाजमा निकै ठूलो छ ।
जन्मँदा प्राप्त हुने भोटोको संख्याद्वारा निर्धारित दर्जाको निकै ठूलो महत्त्व छ किराती समाजमा । त्यही भएर किराती समाजमा जेठा, माइला, साइँला हुँदै कान्छाजस्ता जन्म क्रमबद्धतालाई जोडका साथ लागू गरिन्छ । किनभने यो समाजमा भोटोलाई निकै महत्त्वका साथ हेरिन्छ । एकै वर्ष या एकै महिना वा एकै दिन तलमाथिको जन्मले पनि मान र सम्मानको क्षेत्रमा निकै गहिरो अर्थ राख्छ । तर, यति हुँदाहुँदै पनि आज म यहाँ भोटोको मर्यादामाथि विमर्श गर्न गइरहेको छैन । त्यसको मानमर्दनको बखान पनि यो होइन । केवल एउटा विषादको सानो घात, जो सुदूर अतीतमा घटित हुन पुगेको थियो । यो त्यसैको निर्वाक स्मरण हो ।
०००
भनिसकेँ म मेरा आमा–बाबाको ‘कान्छो’ छोरो थिइनँ । एक्कासि म जसरी ‘कान्छा’ हुन पुगेको थिएँ, त्यो त्यत्तिकै भएको पनि थिएन । यसको पछाडि एउटा निकै दुःखान्त र अति पीडादायी घटनाको हात थियो, जसको प्रत्यक्ष असरले मलाई धेरै पछिसम्म बिथोलिरह्यो । घटनाले यद्यपि मेरो भोटोगत मर्यादामा केही असर पुर्‍याएन । तर, ७–८ वर्षको उमेरदेखि मैले वरण गर्नुपरेको त्यो जन्मगत हैसियतको घाउ मेरा लागि सदासदाको बोझ बनिरह्यो, जुन बोझ मेरो निर्दोष जन्मांकमाथि अद्यापि मैले बोकिरहेकै छु ।
०००
कक्षाकोठामा पढिरहेका बेला एक्कासि हेडसरको अफिसबाट मलाई बोलावट भयो । अप्रत्याशित बोलावटमा कुनै अन्जान गल्तीवश हुन जाने सजायको त्रास थियो । भित्र–भित्रै काम्दै म अफिसकोठामा प्रवेश गरेँ । भित्र मेरी दिदी हेडसरको अगाडि पहिल्यै उभिइरहनुभएको रहेछ । म कोठामा प्रवेश गर्नासाथ एकछेउको कुर्सीमा बसिरहेको मान्छेतिर देखाउँदै हेडसरले भन्नुभो, ‘ल तिमीहरूलाई लिन घरदेखि मान्छे आउनुभएको रहेछ । तुरुन्त घर जाऊ... !’ अचानक घर फर्किनुपर्नाको कारण सोधखोज नगरी हामी त्यो मान्छेको पछि लाग्यौँ । त्यसरी घर फर्किनुपर्ने कारणबारे हामीलाई न हेडसरले केही बताउनुभयो, न त्यो मान्छेले ।
हामी मामाघरमा बसेर पढ्ने गर्थ्यौं । हामी अर्थात् म र मेरी ठूली दिदी । म त्यस्तै तेस्रो या चौथो कक्षाको विद्यार्थी थिएँ । दिदी मभन्दा एक श्रेणी माथि । हाम्रो गाउँमा तत्कालीन समयमा हाइस्कुल नहुनाले आमा–बाबाले पढ्नका लागि हामीलाई मामाघर पठाउनुहुन्थ्यो । मामाघरदेखि पनि लगभग एक–डेढ घण्टाको दूरीमा थियो हामी पढ्ने स्कुल । सोही स्कुलबाट अघिल्लो साल मात्रै हाम्रा ठूलो दाजुले आफ्नो अध्ययन सिध्याउनुभएको थियो । बाँकी रहेका थियौँ, हामी दिदी–भाइ ।
त्यो मान्छेको पछिपछि हामी स्कुलबाट पहिले मामाघर पुग्यौँ । मामाघरबाट आ–आफ्नो झोला टिपेर तुरुन्तै घरको बाटो ततायौँ । मामाघरबाट हाम्रो घर त्यस्तै ६–७ घण्टाको दूरीमा पर्थ्यो । हामी त्यति अबेला पनि घरको त्यो लामो दूरी पूरा गर्न हतारका साथ हिँड्यौँ । हामीलाई घर फर्किनुपर्नाको कारण त्यति लामो समयसम्म न त्यो मान्छेले बतायो न मामाघरमै त्यसको संकेत दिइयो । त्यति लामो बाटो हामी अत्यन्तै अनुशासित र इमानदार विद्यार्थीझैँ चुपचाप त्यो मान्छेको पछिपछि हिँडिरह्यौँ । मात्र हिँडिरह्यौँ ।
हाम्रो हिँडाइको रफ्तार स्वतःस्फूर्त रूपमा यति तेजिलो थियो कि साँझ पर्दा–नपर्दा हामी टुप्लुक्कै घर पुग्यौँ । घर पुग्दा बाहिरबाट वातावरण एकदमै सुनसान प्रतीत हुन्थ्यो । दिदी र मलाई भित्रभित्र एकदमै उत्सुकता थियो— किन त्यति टाढाको स्कुलबाट एक्कासि हामीलाई घर झिकाइयो ! बडो हतारमा हामी घरभित्र पस्यौँ । तर, भित्र छिर्नासाथ हामीले देख्यौँ— बेहाल अवस्थामा आमा जोड–जोडले रोइरहनुभएको थियो । हामी दौडेर आमाछेउ गयौँ । आमाले एक्कासि पाखुरामा तानेर मलाई आफ्नो काखमा लेटाउनुभयो र जोडले पक्रेर हिक्का छाड्दै झन् रुन थाल्नुभयो ।
वस्तुस्थिति नबुझेर दिदी र म निकै बेरसम्म अवाक बनिरह्यौँ । एक छिनपछि घरबाहिर मान्छे भेला हुन थालेपछि थाहा भयो— त्यही बिहान ममुनिको हाम्रो कान्छा भाइको देहान्त भएको रहेछ । ती मानिस भाइको मृत शरीरलाई चिहानमा परिणत गरेर फर्केका मलामी रहेछन् । त्यसपछि आमा झन् विक्षिप्तझैँ बर्बराउन थाल्नुभो, ‘तिमीहरूको भाइलाई एकै रातको व्यथाले लग्यो । विचरा ऐया पनि भन्न पाएन... ।’ आमाछेउ उभिरहनुभएकी दिदी त्यहीँ पसारिएर रुन थाल्नुभो । म आमाको काखमा किंकर्तव्यविमूढ ढलिरहेँ । र, भर्खरै बितेको भाइको रिक्त स्थान मबाट पूरा गर्ने कोसिस गर्दै भक्कानिँदै रोइरहनुभएको आमालाई आफ्नो कलिलो बाहुपासले बेरिरहेँ ।
भोलिपल्टदेखि गाउँलेहरूले हाम्रो घरलाई एक्लो बनाउँदै गए । आमा र दिदीहरू अकार्कामा मुखामुख गर्दै, रुँदै, थाक्दै गरिरहनुभएको थियो । आमा र दिदीहरूले त एकार्कामा रुनका लागि साथी पाउनुभएको थियो । तर, अब म त्यो एक्लो घरमा नितान्त एक्लो थिएँ । किनभने जन्मको हिसाबले भाइ मभन्दा सानो भए पनि ऊ मेरो अभिन्न साथी थियो । स्कुल बिदामा घर फर्केको बेला ऊसँगै म मेरो बालवयको संसार विचरण गर्थें । उसैलाई अँगालेर या साथ राखेर आजसम्म आविष्कार नभएको भाषामा हामी संवाद गर्थ्यौं । ऊ मभन्दा लगभग दुई–अढाई वर्षपछि जन्मिएको थियो । तर, आमा भन्नुहुन्थ्यो, ‘तिमीहरू जम्ल्याहा हौ ।’ नभन्दै बाबाले पनि उसलाई र मलाई एकै खालको जुत्ता र एउटै रङको कमिज–सुरुवाल पठाइदिनुहुन्थ्यो धरानबाट । एकै खाले जुत्ता र कपडामा हामी साँच्चिनै जम्ल्याहाजस्तै देखिन्थ्यौँ । अक्सर दिन हामी एकपटक त्यो लुगा लगाएर बाबा र ठूलो दाजुजस्तै ‘परदेश’ जान्थ्यौँ । आमालाई एक छिनका लागि घरमा एक्लै छाड्थ्यौँ र तल्लो टोलको पुछार–बारी घुमेर
घर फर्किन्थ्यौँ ।
०००
त्यो एक्लो घरमा जब म भोलिपल्ट बिहानै बिउँझिएँ, आँगनमा धर्के कमिज लगाएर नांगो र पुक्क परेको कलिलो पिँडुला देखाउँदै दौडिरहेको भाइलाई खोजेँ । हाम्रो घरको फाँटिलो आँगनमा ठूला–ठूला चप्लेटी ढुंगाद्वारा चिनिएको पर्खालमाथि चढेर हेरेँ—तल बारीका कान्लाहरू, पश्चिमी डिलमा उभिइरहेको अमलाको बोट, घरमास्तिर बाजेले रोप्नुभएको ठूलो वर–पीपलसहितको चौतारी, त्यहाँसम्म लम्पसार तेर्सो धूलौटो बाटो— सबै एक्लोएक्लो र निर्जन लाग्यो । मानौँ ती सब फेरि कहिल्यै नफर्किने कुनै परदेशीले छाडिगएका पाइतालाका डोब हुन् ।
बारीको डिलमा उभिएको अमलाको बोट देखेर एक्कासि मैले सम्झेँ, गएको हिउँदमा हामी एक दिन त्यही लुगा लगाएर परदेश हिँडेका थियौँ । एकै खालको नयाँ जुत्तामा ठाँटिएर हामी बारीको डिलैडिल त्यही अमलाको बोटमुनि पुगेका थियौँ । मैले बोटमा चढेर हाँगा हल्लाउँदै अमलाको झुप्पा झारेको थिएँ । दुवैले नयाँ कमिजको बगलीभरि अमला भरेर घरमा आमालाई भनेका थियौँ, ‘लु आमा परदेशबाट ल्याएको हाम्रो कोसेली ।’ हामीले आमाको अगाडि बगलीबाट यस्तरी कोसेली खन्यायौँ, मानौँ त्यो बाबाले धरानबाट पठाइदिनुभएको नुन, तेल, मसला र सिद्राको बडेमान भारी थियो । आमाले हाँस्दै नाङ्लो थाप्नुभएको थियो र त्यो परदेशको कोसेलीलाई बडो बात्सल्यका साथ उसिनेर अचार बनाउनुभएको थियो ।
गाउँमा पानीको अभाव थियो । छेउछाउमा पानीको स्रोत कतै थिएन । दायाँ–बायाँ ठूलठूला सुक्खा खोल्सीहरू । बर्खामा ती खोल्सीहरू उर्लिएर आउँथे । हामी ठूलो वर्षात् भएको बखत ती खोल्सीहरूमा उर्लिएको बाढी हेर्न भिज्दै दगुर्थ्यौं । म धमिलो र रातो बाढी बगिरहेको भर्लाटाङ खोला देखाउँदै गफ दिन्थेँ, ‘बुझिस् कान्छा, म यो भेल एकै फड्कामा तरिदिन सक्छु... ।’
मेरै बगलमा उभिएको उसले भन्थ्यो, ‘इस्स... राजाले त सक्दैन... तिमीले !’
यतिखेर म सम्झिन्छु, त्यति सानो फुच्चे केटोले राजाको तिलस्मी चमत्कारको पाठ कोबाट सिक्यो होला ? कसरी त्यो विशद ज्ञान उसले आर्जन गर्‍यो ? तर, मैले भने राजाको अतिरिक्त र आलंकारिक शक्तिको बारेमा पहिलोचोटि उसैको मुखबाट सुनेको थिएँ ।
हाम्रो आँगनअगाडि साइँला काकाको घर थियो । एक डिलमाथि जेठा बडाबाको घर, जहाँ बाजे–बोजु रहनुहुन्थ्यो । हामी काका–काकीका छोरा–छोरीसहित निकै जना भेला भएर आँगनमा खेल्थ्यौँ, हल्ला गर्थ्यौं । कैलेकाहीँ बाजेलाई के हुन्थ्यो कुन्नि खेलिरहेका हामीलाई गुलेलीले हिर्काउनुहुन्थ्यो । एकपटक बाजेले हान्नुभएको मट्याङ्ग्रा अचानक भाइको कन्चटमा आएर बज्य्रो । उसको कानदेखि अलि माथिको भागमा मट्याङ्ग्रा जत्रै फोका उठ्यो । राति ज्वरो पनि फुट्यो । त्यो त्यही मट्याङ्ग्रा थियो, जुन अघिल्लो दिन मात्र उसैले बोकेर ल्याएको माटोबाट बनेको थियो । त्यो त्यही मट्याङ्ग्रा
थियो, जुन उसैले हिजो दिनभरि बाजेलाई बाट्न सघाएको थियो ।
ऊ र म अक्सर गुच्चा खेल्ने गर्थ्यौं । बीस गन्ती पुगेपछि हाम्रो गेमको कोटा पूरा हुन्थ्यो र हार्नेलाई शरीरको कुनै अंगमा त्यही गुच्चाले हिर्काउन पाउने नियम बन्थ्यो । स्वाभाविक रूपले धेरैजसो गेम मेरो पक्षमा हुने गर्थ्यो । किनभने म ऊभन्दा अढाई वर्ष पुरानो भोटोको अनुभवी जो थिएँ । म प्रायः उसको गर्धनपछाडि घुच्चुकको भाग, जहाँ कलिलो मासुको बीचमा सानो कुलेसो परेको थियो, त्यही कुलेसोमा गुच्चाले हिर्काउँथें । मलाई हेक्का हुँदैनथ्यो, मुस्किलले पाँच वर्षको त्यो फूलजस्तो कलिलो केटोलाई कतिको पीडा हुन्थ्यो ! तर, एक बहादुर प्रतिद्वन्द्वीको भावमा कालो–नीलो हुँदै ऊ आफ्नो कलिलो घुच्चुक थापिरहन्थ्यो ।
बाँसको भाटाको तरबार बनाएर हामी दसैँ–तिहार छेका घिरौँला र कुभिन्डोको मार हान्थ्यौँ । तरकारीको नास गरेको देखेर आमा गाली गर्नुहुन्थ्यो । हामीलाई लखेट्नुहुन्थ्यो । म आमाको कुटाइबाट जोगिन भाग्थेँ । तर, ऊ भाग्दैनथ्यो । जहिले पनि ऊ मेरोसमेत भागको पिटाइमा पर्थ्यो । ऊ निकै जब्बर स्वभावको थियो । हरेक चीजमा मसँग बराबरको हिस्सा खोज्थ्यो । खाने, लाउनेदेखि सबै कुरा उसलाई मेरोजस्तै र मेरोजत्तिकै चाहिन्थ्यो । ऊ सानो भाइभन्दा पनि मेरो अविच्छिन्न छायाजस्तै थियो । सँगै खेल्ने, सँगै खाने, सँगै हिँड्ने र सँगै सुत्ने अभिन्न छाया । यसरी त्यो छाया छुटेपछि मैले कैयौँ समयसम्म एक्लो र शून्यप्रायः आँगनमा खेल्न जानिनँ । ऊ र म सँगै हिँडेका गोरेटोहरूमा एक्लै–एक्लै हिँड्न जानिनँ । सँगै सुत्ने ओछ्यानमा कैयौं रात सुत्न सकिनँ । घर मास्तिर चौताराको त्यो धूलौटे तेर्सो बाटो, जहाँ हामी हातेमालो गरेर दगुरिहिँड्थ्यौँ, कैयौँ दिनसम्म मैले त्यो धूलोमा उसको पाइताला खोजिरहेँ । यसरी म ऊबिना नितान्त एक्लो भएको थिएँ ।
भाइलाई चिहानमा विसर्जन गरेको भोलिपल्ट आमाले कसैलाई आँसुमिश्रित आदेश दिनुभयो, ‘मेरो कान्छाको घरमा कदमको रूख रोपिदिनू । गर्मीमा शीतल ताप्दै बसोस्... ।’
०००
अब भाइको घर पोखरीटारमा रहने भो । गाउँको पुछारदेखि खोलासम्मै लम्पसार ठडिएको विशाल तर सुक्खा पाखा । त्यसैको सिरानमा छ पोखरीटार । पोखरीको कहीँ कतै नामनिसान छैन, तैपनि नाम छ पोखरीटार । सायद कुनै समयमा पुर्खाहरूले बस्तुभाउका लागि पानीको जोहो गर्न पोखरी खनेका थिए । कालक्रममा सायद त्यो पुरियो । त्यही सुक्खा फाँट पछि हाम्रो वंशजको मृत शरीर विसर्जन गर्ने थलोमा परिणत भएको थियो । पोखरीटार अर्थात् चिहानघारी । त्यसैको एकछेउमा अवस्थित छ, यतिखेर भाइको स्थायी घर ।
तर, भाइ त्यहाँ सरेपछि आमाको दुःख झन् अरू बढ्न गयो । आमाले त्यो बाटो हिँड्नै छाड्नुभयो । खोलाको खेती धाउँदा या भोजपुर सदरमुकाम तर्दा हिँड्नुपर्ने एक मात्र मूलबाटो त्यही थियो । बाटोबाट लस्करै चिठिएका चिहानहरू प्रस्ट देखिन्थ्यो । भाइको चिहान देख्नु नपरोस् भनेर आमाले त्यो बाटोसँग दुस्मनी मोल्नुभयो । खेती धाउँदा या भोजपुर बजार जाँदा आमाले अर्कै बाटो रोज्नुभयो । आमाले रोजेको त्यो बाटो अत्यन्तै घुमाउरो र अप्ठ्यारो भस्मे झाडीहरू छिचोलेर हिँड्नुपर्थ्यो । खोलाबाट घर निस्कँदा हामीलाई एक घण्टा लाग्ने बाटो अब आमालाई दुई घण्टा लाग्न थाल्यो ।
आमा गाउँका गोठाला–खेताला वा त्यो बाटो भएर आउने हामी, जोसुकैलाई पनि अक्सर सोध्नुहुन्थ्यो, ‘मेरो कान्छाको घरमा कदमको रूख कत्रो भयो ?’
हामी उत्तर दिन्थ्यौँ, ‘हरियो भएर सरेको छ । झ्यांगिँदै छ ।’
फेरि भन्नुहुन्थ्यो, ‘भाइको घरलाई त्यसको
छहारीले पुग्छ ?’
भन्थ्यौँ, ‘पुग्छ ।’
हाम्रो ‘पुग्छ’ ले आमा आश्वस्त बन्नुहुन्थ्यो कि हुन्थेन हामीलाई थाहा हुँदैनथियो । तर, उँधोतिर अथवा भाइको नयाँ घरको दिशातिर फर्केर उहाँ त्यसपछि मौन बस्नुहुन्थ्यो ।
किराती समाजमा अक्सर चिहान खनेपछि कुनै न कुनै रूख रोप्ने चलन छ । हरेक एक चिहान बराबर धस्किएको माटोमा एउटा रूख रोपेर सायद प्रकृतिलाई क्षतिपूर्ति दिनुपर्छ भन्ने धारणा हुनुपर्छ यो । प्रकृतिसँग तादात्म्य सम्बन्ध रुचाउने किराती समाजको यो पर्यावरणीय चेतले कुनै एक कुनामै भए पनि पृथ्वीलाई जोगाएर राखेको छजस्तो लाग्छ । भलै आमाको त्यो कदमको रूखसँग भाइको जैविकताप्रतिको मनोवैज्ञानिक आग्रह जोडिएको नै किन नहोस्, तैपनि पर्यावरणीय चेतनाको घुमाउरो परम्परा त त्यहाँ पनि अवश्य
बाँचेकै छ ।
भाइसँग जोडिएका मसिना–मसिना घटना, उसका लुगाफाटा र खेलौनाहरूसँग आमा धेरै पछिसम्म एकालापको शैलीमा संवाद गर्नुहुन्थ्यो । मानौँ ऊ आमाको अगाडि सदाझैँ टुक्रुक्क बसिरहेको छ र सुनिरहेको छ, आज्ञाकारी छोरा भएर आमाको वृत्तान्त । दूधको तसलामा कुराउनी खुर्किंदा जहिले पनि आमा एकपटक उसलाई सम्झिनुहुन्थ्यो र मसँग भन्नुहुन्थ्यो, ‘तेरो भाइ यो भाँडाको आवाज जहाँबाट पनि चिन्दथ्यो र सुन्नासाथ दगुरेर आउँथ्यो । भाँडामा तेरो भाग कुराउनी देखेर भन्थ्यो— यो ठूलोकान्छा दाजु त मरे पनि हुन्थ्यो । कुराउनी एक्लै खान्थेँ । तर, बिचरा ऊ आफैँ पहिले गयो । तेरो भाइलाई एकै रातको व्यथाले लग्यो । बिचराले ऐया पनि भन्न पाएन ।’ त्यसपछि आमा फेरि रुन थाल्नुहुन्थ्यो ।
पछि म ठूल्दाजुको पदचिह्न पछ्याउँदै काठमाडौं आएँ । दुई दिदी पनि यतै तानिनुभयो । घरमा आमा–बाबा एक्लै पर्नुभयो । यता आएपछि मैले आमालाई एकाधपटक सोधेको थिएँ, ‘आमा, भाइलाई त्यस्तो के व्यथा लागेको थियो, जसले उसलाई ऐया पनि भन्न दिएन ?’
आमाको जवाफ हुन्थ्यो, ‘वनको ।’
‘मर्ने बेला कस्तो लक्षण देखिएको थियो ?’
‘जीउ काठजस्तो दह्रो भएको थियो । टाउको र खुट्टा जोडिने गरी ढाड पछाडितिर दोब्रिन खोज्थ्यो ।’
जवाफ सुनेपछि मैले उतिखेर सामान्य अड्कल लागाएँ । आमाको ‘वनको’ भन्ने व्यथा सम्भवतः वनको नभएर धनुष्टंकार भन्ने रोग थियो, जसले एकै रातमा भाइलाई चुँडेर लग्यो । आज पनि गाउँघरमा त्यस्ता एक–राते वा चटके अनेक व्यथाहरू छन्, जसलाई गाउँले भाषामा ‘वनको’ भनिन्छ । त्यही ‘वनको’ ले मेरो भाइलाई पनि पाँचै वर्षको कलिलो उमेरमा, राम्ररी संसार देख्न नपाउँदै संसारले नै बिदा दियो । र, त्यही एक रातको दुःखान्त घटनाले मेरो जन्मको सोपान–शृंखलालाई भत्काइदियो । मेरा दाजु र दिदीहरूको तहगत हैसियतलाई केही असर नगरे पनि त्यसले मलाई असर पुर्‍यायो । किनभने म आमाको ‘ठूलोकान्छा’ बाट एक्कासि तल्लो सोपानमा झर्न पुगेको थिएँ । मलाई अब गाउँ–समाजले ‘कान्छा’ भनेर बोलाउन थालेका थिए ।
निकै पछि, ५३–५४ सालतिर आमा–बाबाले पनि गाउँ छाड्नुभयो । तर, गाउँमा रहिन्जेल आमाले त्यो मूलबाटोसँग दुस्मनी मोली नै रहनुभयो । एकपटक पनि पोखरीटारको त्यो बाटो नहिँडी सदाका लागि आमा काठमाडौं आउनुभयो ।
आज निरन्तर रूपमा गाउँ छाडेको पनि लगभग अढाई–तीन दशकभन्दा बढी भइसकेको छ । थाहा छैन, पोखरीटारस्थित भाइको त्यो स्थायी घर कस्तो अवस्थामा छ ? भत्किसक्यो कि यथावत् छ ? त्यो कदमको रूख कस्तो भयो होला ? के आज पनि भाइको घरलाई शीतल दिँदै उसैगरी उभिइरहेको होला ?
गोचर दुनियाँभन्दा परको दुनियाँमा पनि मान्छेलाई बिथोलिरहन सक्ने शक्ति कुनै चीजमा छ भने त्यो सायद निर्मम सम्झनामा छ । आज पनि, लगभग आधा शताब्दीपछाडि पनि जब म आफ्नो बाल्यकालतिर फर्किन्छु, म अक्सर भाइको त्यही कुलेसो परेको कलिलो गर्धन सम्झिन्छु, जहाँ म निर्मम ढंगले गुच्चा प्रहार
गर्थेँ । र, जब त्यो सम्झिन्छु, आज पनि म त्यत्तिकै विचलित हुन्छु ।
मान्छेका दुःखहरू आ–आफ्नै हुन्छन् । आ–आफ्नै नामका बोझहरू हुने गर्छन् । मेरो पनि दुःख छ, आफ्नै नामको । भाइको मृत्युले प्रदान गरेको, जुन सामाजिक भोटोको हैसियतमा म यतिखेर बाँचिरहेछु, त्यही हैसियत मेरो दुःखको नाम हो, जुन दुःखको बोझ आजपर्यन्त मैले बोकेको बोक्यै छु ।

Page 18
कोसेली

विद्यार्थीलाई झन् बोझ

अहिले आएर नेपाली विषय झन् जटिल बन्दै गएको छ । यसो हुनुमा अनावश्यक नव प्रयोगको बोझ थप्नाले पनि हो कि ? त्यसतर्फ पनि हाम्रो ध्यान जानु आवश्यक छ ।

 

पहिलेको प्राथमिक तह र अहिलेको आधारभूत तह अन्तर्गत कक्षा १—३ को नयाँ फाठ्यव्रम नेपाल सरकार, शिक्षा मन्त्रालय, फाठ्यव्रम विकास केन्द्रले विसं. २०७५ मा प्रकाशित गरेको छ । यस तहको नेपाली फाठ्यव्रममा कक्षागत सिकाइ उपलब्धि खण्डमा सुनाइ र बोलाइको सन्दर्भमा ‘ध्वनि सचेतीकरण’ को उल्लेख छ । यसको परिभाषा, परिचय वा स्पष्टीकरण फाठ्यव्रममा भेटिँदैन । सन्दर्भ अनुसार यो अङ्ग्रेजी शब्द ‘फोनोलोजिकल अवेयरनेस’ को अनुवाद देखिन्छ । यसको आशय लेख्य वर्णहरूको चिनारीभन्दा पहिले ती वर्णहरूको ध्वनि वा उच्चारणप्रति सचेत गराउनु हो । अङ्ग्रेजीमा लेखिने रोमन लिपि र तिनको उच्चारणमा व्यापक अन्तर पाइन्छ । अर्थात् त्यस भाषामा सबैजसो ध्वनि र लेख्य रूपमा एकानुरूप सम्बन्ध नरहेकाले अंग्रेजी पढ्न, सिक्न ध्वनि सचेतीकरण आवश्यक ठानिन्छ । अझ लेख्य सचेतीकरण (ग्राफोलोजिकल अवेयरनेस) पनि उत्तिकै आवश्यक हुन्छ तर देव नागरीमा लेखिने नेपाली भाषामा बोलिने क, ख, ग आदि र तिनलाई लेखिने लिपिचिह्नमा अधिकांश समानता पाइन्छ ।
अङ्ग्रेजीमा ब, द, अ, म लाई ए, बी, सी, डी भनेर वर्णमालामा पढिन्छ तर ती वर्णहरू शब्दमा वा पाठमा सस्वर पढ्दा अर्कै किसिमले पढिन्छ । उदाहरणका लागि अङ्ग्रेजी वर्णमालाको ब वर्ण भिन्न भिन्न शब्दमा अ, आ, ए वा अन्य खालले पनि उच्चरित हुन सक्छ । त्यस्तै अ वर्णले स, च, क ध्वनि वा उच्चारणको प्रतिनिधित्व गरेको हुन्छ । यस्तो समस्या देवनागरीमा लेखिने नेपाली भाषा कमै पर्छ । नेपालीमा प्रचलित देव नागरी वर्णमालाका स्वर र व्यञ्जन वर्णका करिब चार प्रतिशत वर्णमा लेख्य चिह्न र उच्चारणमा फरक परे पनि अन्यमा त्यस्तो समस्या कमै देखिन्छ । तर अङ्ग्रेजी वर्णमालाको
नक्कल गरी सुनाइ र बोलाइको सन्दर्भमा नेपाली
फाठ्यव्रममा ध्वनि सचेतीकरणको कुरा अस्वाभाविक ढङ्गले पाठ्यवस्तुका रूपमा समावेश भएको छ । देव नागरीका अधिकांश लेख्यचिह्न जस्तो बोलिन्छ, त्यस्तै लेखिन्छ भने प्रारम्भिक तहका केटाकेटीहरूलाई यो ध्वनि सचेतीकरणको द्रविड प्राणायाम किन आवश्यक भयो ? गम्भीर प्रश्न खडा भएको छ । यसको औचित्य
फाठ्यव्रमले पुष्टि गर्न सकेको देखिँदैन । शिक्षकले क, ख, ग, घ आदि उच्चारण गर्दै गराउँदै ती वर्णका चिह्न चिनाउने, लेखाउने अभ्यास गराउन सजिलै सक्छन् भने ध्वनि सचेतीकरणको चक्कर उसलाई किन चाहियो ? यसले कुनै नयाँ कुरा थप्दैन । बरु यसबाट त सिक्ने र सिकाउने दुबै पक्षमा भ्रम मात्र बढाउँछ ।
नेपाली अक्षर चिनारी र लेखनको हाम्रो आफ्नै परम्परा छ । ‘ठुलो वर्णमाला’ को शिक्षण परम्परा उल्लेख गर्ने हो भने फनि त्यसमा एक किसिमको सरल–जटिलको अनुव्रम थियो । हामी पहिले सग्ला व्यञ्जन वर्णहरू चिन्न र लेख्न सिक्थ्यौँ । त्यसपछि स्वर वर्ण सिक्थ्यौँ । अनि मात्र मात्रा लागेका बार्‍हखरी र त्यसपछि संयुक्त अक्षरको पालो आउँथ्यो । यस कुरालाई विचार गर्दा हामीलाई किन स्वर वर्णहरूबाट अक्षर चिनारी र लेखन गराइँदैनथ्यो ? त्यसको गुत्थी पत्ता लाग्छ । स्वर वर्णहरू सग्ला मात्र हुँदैनन्, तिनमा मात्रा लागेका र संयुक्त अक्षर पनि हुनाले क, ख आदि व्यञ्जनबाट सिकाउनु सजिलो मानिएको देखिन्छ । पछि फाठ्यव्रम विकास केन्द्रले धेरै अध्ययन र छलफलपछि सुरुमा क र खभन्दा गबाट अक्षर लेख्न सिकाउनु अझ सरल र केटाकेटीको मनोविज्ञान अनुसार प्रभावकारी वा अर्थपूर्ण सिकाइ हुन सक्ने ठान्यो र विगत डेढ दशकदेखि कक्षा १ को पाठ्य पुस्तकमा यस खालको अवधारणा समावेश गरिएको थियो । यसको कारण ग बाट म, मबाट भ, भबाट झ चिनाउन लेखाउन सहज हुने र केटाकेटीले सजिलै अक्षर चिन्न र लेख्न रुचि लिएको पाइयो । यसबाट उनीहरूलाई वर्णहरूको लेख्य स्वरूपमा देखिने सादृश्य र विभेद पहिचान गर्दै सिक्ने अवसर पनि प्राप्त भयो । यसरी आधार अक्षर पहिचान गरेर त्यसको चिनारी र लेखन गराउँदा क लेख्नुभन्दा पहिले त लेख्न लगाउने, त पछि व, अनि मात्र क लेखाउँदा उनीहरूले सजिलै सिक्ने हुँदा रहेछन् र त्यसपछि ख लेखाउन पनि धेरै ठुलो परिश्रम गर्नु नपर्ने हुन्छ । आधार अक्षरलाई पहिल्याएर सबैजसो अक्षर एक पटक दगल्च्याएपछि उनीहरूलाई फmेरि क, ख को वर्णानुव्रम अनुसार नै पुनरावृत्तिका प्रशस्त अभ्यास गराउँदा केटाकेटीले सजिलो र छिटो अक्षर चिन्न सकेको पाइन्छ । फलतः यस किसिमको विधिबाट अक्षर चिनारी तथा लेखन सिकाउँदा केटाकेटीका कार्यकलापमा यान्त्रिकता तथा जडताको साटो सृजनशीलता प्रोत्साहित हुन्छ । साथै हामीमा
आफ्नो अनुभव र अध्ययनप्रति गौरव गर्ने बानी पनि बढ्न जान्छ ।
तर अहिले आएर उल्लिखित ढाँचालाई उच्छेद गरेर अक्षर चिनारी र लेखन स्वर वर्णमालाबाट सुरु गरिएको देखिन्छ । यो हाम्रो परम्परा, प्रचलन र बाल मनोविज्ञानका दृष्टिले बिलकुल अमिल्दो रहेको छ । जतिसुकै अन्तर्राष्ट्रिय अभ्यासको हवाला दिए पनि
आफ्नो भाषाको प्रकृति र विद्यार्थीहरूको सिकाइ मनोविज्ञान अनुरूप नभएमा त्यो बालुवामा पानी खन्याए सरह हुन्छ । नेपालीको कक्षा १ को किताब ः भाषा संसार २०७६ र त्यसका लागि तयार पारिएको ‘एकीकृत
फाठ्यव्रम मार्ग दर्शन २०७६’ समेत सरसर्ती अध्ययन गर्दा देखिएका आधारमा उल्लिखित टिप्पणी गरिएको हो । परीक्षणका लागि भनिए पनि फाठ्यव्रम मार्ग दर्शन समेतले ध्वनि सचेतीकरण, लेख्य वर्ण सचेतीकरण, सङ्केतन, विसङ्केतन, विसङ्केतक पाठ जस्ता पारिभाषिक शब्दहरू अपरिभाषित रूपमा नै उपयोग गरी फाठ्यव्रम, पाठ्य पुस्तक र शिक्षक निर्देशिकाहरू समेत आएको हुँदा साधारण शिक्षकका लागि ठुलो अन्योलको विषय बनेको देखिन्छ ।
विगतमा भन्दा अहिले आएर नेपाली विषय झन् जटिल बन्दै गएको छ । यसो हुनुमा अनावश्यक नव प्रयोगको बोझ थप्नाले पनि हो कि ? त्यसतर्फ पनि हाम्रो ध्यान जानु आवश्यक छ । अर्कातिर नेपाली बाहेक अन्य मातृभाषीले पनि उत्तिकै रुचिका साथ यो भाषा सिक्न पाउनु पर्छ । अक्षर चिनारी तथा लेखनका सन्दर्भमा सजिलो, छरितो र छिटो सिक्न पाउने हक कुण्ठित हुन लागेको आशङ्का अहिलेको पाठ्यक्रम र पाठ्य पुस्तकले झन् बढाएको छ । गैरशैक्षणिक क्षेत्रको प्रभाव र दबाबबाट पाठ्यक्रम बनेकाले र पाठ्य पुस्तक लेखिएकाले यस्तो भएको हो भने त्यसमा समयमै विचार पुर्‍याउनु उचित हुन्छ । नत्र केटाकेटीको नेपाली सिकाइप्रति वितृष्णा बढाउन खोजिएको आक्षेप लाग्न सक्छ । यसप्रति सचेत रहनु र समयमा नै सरोकारवालाको ध्यान जानु आवश्यक छ ।

हेमाङ्ग राज अधिकारी

कोसेली

सहिद–शवको वृत्तान्त

उनलाई कोसीटप्पु पुर्‍याइयो । चितामाथि सेतो कपडाले बेरिएको शव थियो । अनुहार खोलेर हेर्दा उनका दाजु मौन थिए । उनले दाजुको अनुहार छामे । शव आलै थियो । भर्खरै मारेछन् भन्ठाने । रातको १ बजेको थियो । उनले शव आफूलाई दिनुपर्ने माग गरे ।
- राजकुमार दिक्पाल

एक साता मात्र भएको थियो, घरमा विवाहको खुसियाली छाएको । विराटनगरमा सम्पन्न भाइ वीरेन्द्रनारायणको विवाहमा दाजु भीमनारायण श्रेष्ठ सक्रिय नहुने कुरै भएन ।
यसै क्रममा भीमनारायण फागुन २२ गते विवाहको सामान किन्न भाइसँगै भारतीय बजार फारवेसगन्ज पुगे । तर, एउटा सल किन्न छुटेछ, त्यसका लागि पुनः भीमनारायण फेरि एक्लै फारवेसगन्ज पुगे । फागुन २६ गते विवाह सम्पन्न भयो ।
यसको एक सातापछि भीमनारायण एक विस्फोटनमा परी सख्त घाइते भए । विस्फोटनमा उनका साथी रामकृष्ण श्रेष्ठ र अर्का व्यक्ति नगेन्द्रप्रसाद पराजुलीको मृत्यु भयो । भीमनारायणसहित पचासौं घाइते भए । नेपाली राजनीतिको इतिहासमा निकै संवेदनशील बन्यो, यो घटना ।
२०३० साल चैत ३ गते पौने १० बजे कोसी अञ्चल अस्पतालको गेटमा यस्तो घटना भयो । तत्कालीन राजा वीरेन्द्र पूर्वाञ्चलको भ्रमणमा थिए । राजाको सवारी हेर्न भनी भीमनारायण रामकृष्णका साथ त्यसतर्फ गइरहँदा रामकृष्ण आमाको लागि औषधि किन्न अस्पताल परिसरतिर गएका थिए । त्यहीँ विस्फोटन भयो । त्यस दिन राजा वीरेन्द्रको विराटनगर भ्रमण तालिकाअनुसार सहिद मैदानबाट समीक्षालयतिर हुने कार्यक्रम थियो । रामकृष्ण र भीमनारायण त्यसतर्फ जाँदै थिए । तत्कालीन पञ्चायतकालीन अदालती भाषामा त्यो विस्फोटनलाई राजगद्दी ताकेको र श्री ५ माथि आक्रमण गर्न खोजेको अर्थ्याइयो । यस्तो अभियोग भीमनारायण श्रेष्ठमाथि लाग्यो । सर्वोच्च अदालतले २०३३ साल फागुन ६ गते पञ्चायती कानुनको राजकाज (अपराध र सजाय) ऐन २०१९ दफा २ तथा राजगद्दीसम्बन्धी ऐन २०१५ को दफा १६ अनुसार, भीमनारायणलाई मृत्युदण्डको फैसला सुनायो ।
भीमनारायणको जीवनको अन्तिम क्षणबारे जिज्ञासा मेट्ने क्रममा यो लेखकले विभिन्न मितिमा सहिदका पिता सूर्यनारायण श्रेष्ठ, सहिदपुत्र मनोजनारायण श्रेष्ठ, सहिदका भाइ वीरेन्द्रनारायण श्रेष्ठ, सर्वोच्चका तत्कालीन न्यायाधीश वासुदेव शर्मा तथा वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठसँग कुराकानी गरेको थियो । यो लेख भीमनारायण श्रेष्ठको शहादतको समयको क्षणसँग सम्बन्धित छ ।

कागजले बेरिएको डल्लो
छुटेको सामान किन्न भीमनारायण एक्लै फारवेसगन्ज पुग्दा त्यहाँ निर्वासित कांग्रेस कार्यकर्ता यज्ञबहादुर थापासँग भेट भयो । यज्ञबहादुर धनकुटामा सेनाको तत्कालीन गुल्मपति हुँदादेखि नै भीमनारायणको उनीसँग राम्रो चिनजान थियो । उनी धनकुटामा रहँदा हालः धनकुटा नगरको खानेपानी कार्यालय रहेको परिसरमा घर पनि बनाएका थिए । २०४५ सालको भूकम्पमा परी घर भत्किसक्यो । त्यो घर सरकारी अधिग्रहण परिसकेको थियो । समयक्रममा राजनीतिक विचारले यज्ञबहादुर नेपाली कांग्रेसमा आबद्ध हुँदै निर्वासित भए ।
भीमनारायण पुनः फागुन २५ गते फारवेसगन्ज पुग्दा यज्ञबहादुरले भीमनारायणलाई कागजले बेरिएको एउटा गह्रौं वस्तु ‘फलानोलाई दिनू है’ भनी थमाए ।
यहीँनेर एउटा प्रश्न उठ्छ, एउटा सल विराटनगरमै पनि किन्न पाइन्थ्यो होला । सम्भवतः राजनीतिक मिसनमा उनी त्योबेला सहभागी थिए वा सहभागी गराइए । त्यसपछि फारवेसगन्ज पुगे ।
त्यहीँ सलसँगै उनको साथ सीमावार भई विराटनगर भित्रिएको कागजमा बेरिएको गह्रौं वस्तु उनले थापाको निर्देशनअनुसार विराटनगरको ट्राफिक चोकनेरको आफन्त गोपालनाथ श्रेष्ठले चलाएको तत्कालीन ‘धरान होटल’ को गोप्य कोठामा नेविसंघका तत्कालीन सक्रिय कार्यकर्ता रामकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरे ।
यसअघि कांग्रेस कार्यकर्ता दुर्गानन्द झाले जनकपुरमा राजा महेन्द्रको गाडीमा बम प्रहार गरी मृत्युदण्ड भोगिसकेको इतिहासलाई विवेचना गरेर भन्न सकिन्छ, राजा वीरेन्द्रको समयमा त्यो विस्फोटन रामकृष्णले गर्न खोजेका थिए । सके राजालाई प्रहार गर्न, नभए तर्साउन । कोइराला परिवारको गृहनगरमा आखिर विस्फोट भयो । रामकृष्ण बितिहाले, घाइते अवस्थामा भीमनारायण समातिए ।

तीन महिना बेपत्ता
राजाको भ्रमणको बेला विस्फोटमा परी मृत्यु हुने रामकृष्ण श्रेष्ठको पहिचान र उनको राजनीतिक पृष्ठभूमि पत्ता लाग्नु अनि सँगै घाइते हुने रामकृष्णका छिमेकी तथा साथी भीमनारायण श्रेष्ठ सँगै रहनु । यसबाट तत्कालीन राज्य ब्यवस्थाको शंकाको खाँडो सीधै भीमनारायणतिर उचालियो ।
तर आत्मरक्षाका लागि अन्तिम अवस्थासम्म मानिस लड्छ भिड्छ नै, भीमनारायण श्रेष्ठले पनि अन्तिम अवस्थासम्म आत्मरक्षाका लागि इन्कारी बयान दिँदै रहे ।
बम विस्फोटको बेला ‘लवराजा’ भनिने वीरेन्द्रबहादुर शाह कोसी अञ्चलका अञ्चलाधीश थिए, अनि डीआईजी थिए, दुर्लभकुमार थापा । यिनीहरू दुईमा घटनाको प्रमुख जिम्मेवार ब्यक्ति पत्ता लगाउनुपर्ने चुनौतीपूर्ण जिम्मेवारी थियो । विस्फोटनको तीन दिनपछि भीमनारायण सख्त घाइते अवस्थामै गिरफ्तार भए । घटनामा घाइते एक बालकलाई प्लास्टर गरिएको उनको हात हल्लाएर भीमनारायणकै गोजीबाट एउटा डल्लो झरेको बयान प्रहरीबाट गराइयो ।
घटनामा मृत्यु भएका नगेन्द्रप्रसाद पराजुलीका दाजु टंकबहादुर पराजुली र तत्कालीन प्रहरी निरीक्षक मोहनबहादुर पाण्डे जाहेरवाला बने ।
दिउँसो अस्पताल र राति डीआईजी कार्यालयमा बयानका लागि भीमनारायणको यातनापूर्ण ओहोरदोहोर चल्यो । अन्ततः यातना खप्न नसकेर उनले बमकाण्डमा आफ्नो संलग्नता रहेको बयान दिए । जोगवनीस्थित सशस्त्र प्रहरी गणभित्र राखिँदा उनलाई यति गोप्य राखियो कि तीन महिनासम्म परिवारले थाहापत्तो केही पाएन ।

फैसला गर्ने बीपीका साढुभाइ
यातना सहन नसकेर उनले २०३१ साल वैशाख ९ गते आफू विस्फोटनमा संलग्न रहेको साविति बयान दिए । यो बयान र प्रहरी प्रतिवेदनको आधारमा एक सदस्यीय विशेष अदालत (मुकाम वाग्मती) ले २०३१ साल मंसिर ११ गते जाहेरी फैसलास्वरूप भीमनारायणलाई मृत्युदण्डको फैसला सुनायो । भीमनारायणले जीवनरक्षाका लागि तत्कालीन क्षेत्रीय अदालत, धनकुटामा पुनरावेदन गरे । यस अदालतले पनि २०३३ साल जेठ १४ गते भीमनारायणलाई मृत्युदण्डकै फैसला सुनायो । यो मुद्दा सर्वोच्च अदालतमा पुग्यो । त्यो बेला भीमनारायणको जीवनरक्षाका लागि सर्वोच्चमा बहस गर्ने वकिलहरू थिए, कृष्णप्रसाद भण्डारी, कुसुम श्रेष्ठ र गणेशराज शर्मा । तर सर्वोच्चले पनि २०३३ साल फागुन ६ गते क्षेत्रीय अदालतकै फैसला सदर गर्‍यो ।
एउटा गजबको संयोगचाहिँ हाम्रो मुलुकमा के भने जुन संयन्त्रका लागि जसले नेतृत्व गर्छन्, उनीहरूले चाहिँ माफ पाउने र संयन्त्र कार्यान्वयन गर्ने कार्यकर्ताले चाहिँ मृत्युदण्ड भोग्नुपर्ने !
बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर निर्वासनबाट गणेशमान सिंह र शैलजा आचार्यलगायतका साथ २०३३ साल पुस १६ गते स्वदेश फर्के । यसको दुई महिना पनि नबित्दै बीपीका कार्यकर्ता भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापालाई भने मृत्युदण्ड दिने फैसला सुनाइयो ।
यस्तो फैसला सुनाउनेमध्ये सर्वोच्चका तत्कालीन न्यायाधीश वासुदेव शर्मा बीपीका आफ्नै साढुभाइ हुन् । उनी बीपी गृहमन्त्री हँॅदा उनको स्वकीय सचिव थिए । बीपीकै पालामा उनी भोजपुरको बडाहाकिम पनि भएका थिए । पछि सेवा परिवर्तन गरी न्याय सेवामा प्रवेश गरेका हुन् ।

अन्तिम क्षण
ओखलढुंगा काण्डमा राज्यविप्लवको अभियोग लागेका यज्ञबहादुर थापालाई पनि मृत्युदण्डको सजाय सुनाइसकिएको थियो । तर फैसलाको कार्यान्वयन भएको थिएन । आफ्नो मृत्युको दिन पर्खेर श्रेष्ठ र थापा केन्द्रीय कारागारको गोलघरमा आफ्नो दिनगन्ती गरिरहेका थिए । यता परिवार र नातेदारमा यसबाट परेको पीडा अवर्णनीय छँदै थियो ।
सर्वोच्च अदालतबाट मृत्युदण्डको फैसला भएको पनि दुई वर्ष पुग्न १०/१२ दिन मात्र बाँकी थियो । जिल्ला प्रशासन कार्यालय, धनकुटामार्फत भीमनारायणको परिवारका सदस्यमध्ये एकलाई अञ्चलाधीश कार्यालय, विराटनगरमा हाजिर हुन बोलाइयो । छोराछोरी सानै थिए, बुवा सूर्यनारायण कामविशेषले छिन्ताङ गएका थिए । अब अञ्चालाधीश कार्यालयमा जान भाइ वीरेन्द्रनारायण तयार भए । त्यो बेला हल्लाचाहिँ के चलेको थियो भने भीमनारायण जेलमुक्त हुँदै छन् ।
वीरेन्द्रनारायण २०३३ साल माघ २५ गते अञ्चलाधीश कार्यालय हाजिर भए । कार्यालयमा पुग्नुअघि उनलाई अञ्चलाधीशको निवासमा बोलाइएको थियो । त्यहाँ शाखा अधिकृत कृष्णप्रसाद दाहालले उनलाई ‘आज तपाईंको दाइलाई यहाँ ल्याइँदै छ, तपाईंले बुझेर लैजानपर्छ’ भने । विभिन्न कुराले अलमल्याउँदै राखेर उनलाई भोलि १० बजे कार्यालयमा आउन भनियो । उनी ठीक समयमा त्यहाँ पुगे, दाजुसँग भेट हुने आशा लिएर । फेरि उनलाई अलमल्याएर राखियो । साँझ ४ बजेतिर उनलाई उनको दाजु कार्यालयमा नभई अन्यत्रै आउने भएकाले उतैतिर जानुपर्ने भनी
जानकारी दिइयो ।
स्थिति भयग्रस्त भयो, वीरेन्द्रनारायणका लागि । कार्यालयमा कर्मचारीहरूले भाडाको गाडी खोज्न थालेको उनले चाल पाए । कार्यालयभित्र कसैलाई छिर्न दिइन पनि छाडियो । वीरेन्द्रनारायणलाई डर लाग्यो । जाडो भएकोले सुइटर लगाएर आउँछु भनी अञ्चलाधीश कार्यालयबाट उनी भागे । नजिकैका नातेदार ईश्वरबहादुर श्रेष्ठको घरमा पुगी उनले अञ्चलाधीश कार्यालयको सबै वातावरण सुनाएँ । यसबारे ईश्वर गएर बुझ्दा वीरेन्द्रनारायणलाई चाहिँ जस्ताको तस्तै फर्काइदिने आश्वासन अञ्चलाधीश कार्यालयका शाखा अधिकृत दाहालबाट पाए ।
यो खबरपछि अञ्चलाधीश कार्यालयमा आएर वीरेन्द्रनारायणले सरकारी कर्मचारीहरूलाई ‘छिटो जाऊँ’ भन्न थाले । साँझ ५ बजेपछि उनलाई चढाइएको गाडी हुइँकियो । उनले भेउ पाएअनुसार गाडी पञ्चिमतिर लाग्दै थियो । बीच बाटोमा तेल भर्ने क्रममा गाडी रोकिँदा उनले प्रभु नामका एक चिनारुलाई भेटे । उनले आफ्नो अवस्थाबारे उनलाई जानकारी दिए ।
कोसी ब्यारेजमा गाडी रोकियो । त्यसअघि इनरुवामा गाडी रोकिएको थियो । त्यो बेला सुनसरी जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी भगवान सिंह खाजा खाँदै थिए ।
कोसी ब्यारेजमा पुगेपछि फेरि अलमल्याउने काम भयो । तास पो खेलाउन थालियो । राति ९ बजेतिर एक व्यक्ति आई प्रजिअ सिंहसँग मसिनो स्वरमा वार्तालाप गरेर उनलाई त्यहाँबाट लिएर हिँडेपछि वीरेन्द्रनारायण थप भयभीत भए । आफूलाई नै मार्न लागेछन् भन्ठानेर वीरेन्द्रनारायण पान किन्ने निहुँले कोसी ब्यारेजबाट दक्षिणतिर भाग्न लम्के । तर मर्नुपरे पनि आफ्नै देशमा मरौंला भन्ठानेर उनी फर्के । उनलाई एक सरकारी अधिकारीले उनलाई भने, ‘तपाईंको दाजुलाई कोसीटप्पु पुर्‍याइसकिएको छ । अब भेट्न उतै जाऔं ।’
उनलाई कोसीटप्पु पुर्‍याइयो । चितामाथि सेतो कपडाले बेरिएको शव थियो । अनुहार खोलेर हेर्दा उनका दाजु मौन थिए । उनले दाजुको अनुहार छामे । शव आलै थियो । भर्खरै मारेछन् भन्ठाने । रातको १ बजेको थियो ।
उनले शव आफूलाई दिनुपर्ने माग गरे । आफूलाई नदिने हो भने शव नबुझ्ने भने । आफ्ना बुवाआमा जीवितै रहेको अवस्थामा आफूले परम्पराअनुसार दाजुको शवमा दागबत्ती दिन नमिल्ने बताए । यस्तो गलफत्ती भइरहेको बेला संगीनधारी प्रहरीबाट घेराइएर उनलाई शव बुझ्न बाध्य गराइयो । र, एक ब्राह्मण जातका प्रहरीबाट भीमनारायण श्रेष्ठको शवमा दागबत्ती दिइयो ।
भीमनारायणको शहादतको भोलिपल्ट वीरेन्द्रनारायणलाई बरबुझारथका लागि सुनसरी जिल्ला प्रशासन कार्यालय, इनरुवामा बोलाइयो । उनले दाजुको सामान बुझ्दा कागजपत्रचाहिँ केही पाएनन् । काठमाडौंबाट आएका प्रहरी अधिकृतबाट भीमनारायणले कारागारमा रहँदा उधारो खाएको तीन सय ६२ रुपैयाँ बाँकी रहेको बताइयो । उनले प्रहरी अधिकृत भीष्मजंग थापालाई उक्त रकम हस्तान्तरण गरे ।
भीमनारायणले अन्तिम वाक्य सरकारी मानिससँग के बोले थाहा छैन । यज्ञबहादुर थापा र उनलाई २०३५ माघ २४ गते बिहानको ४ नबज्दै दुई छुट्टाछुट्टै प्रहरी भ्यानमा कोचेर लगिएको देख्ने साक्षीचाहिँ तत्कालीन जेलयात्री हालका प्रधानमन्त्री केपी शर्मा ओली, मोहनचन्द्र अधिकारी तथा राधाकृष्ण मैनाली थिए । मैनालीको जेलसंस्मरण ‘लुटिएका दुई थुँगा फूल’ अनुसार भीमनारायणले छुट्ने बेला मैनालीहरूलाई गम्भीर हाँसोका साथ भनेका थिए, ‘जीवन रहे भेट होला, नभए यत्ति हो । बाँचेकाले क्रान्ति गर्नू, मेरो यही खबर सबैलाई सुनाइदिनू ।’

Page 19
कोसेली

आमैदेखि आफैंसम्म : खाना अध्याय

- सायद अशोक

कहीँ सुनेको थिएँ— अमेरिकाबाट सबै विदेशी खानेकुरा र मरमसला हटाउने हो भने अमेरिकन खानाको नाममा आलुबाहेक केही रहँदैन । ट्रम्पले सुरु–सुरुमा सबैलाई अमेरिकाबाट लेखेट्छु भन्दाताकाको कुरा हो यो । तर, त्यसपछि पनि खाद्य बजारका ‘भेराइटी’ हरू कम भएनन् । २०१८ को एउटा तथ्यांकअनुसार, अमेरिकामा घर खर्चको १२.९ प्रतिशत खर्च खाद्यान्नमा हुँदोरैछ । खाद्यान्नमा हुने खर्च हाउजिङ र यातायातपछि तेस्रोमा आउँदोरैछ ।
खाना पकाउनु हाम्रातिर दैनिकीको हिस्सा हो । (यसो भन्दै गर्दा मैले मेरो ठूलो मामालाई सम्झिनुपर्छ, एउटा ठूलो अपवाद । खाना पकाउने मान्छेलाई कोठा भाडा पनि तिरिदिएर नियुक्ति दिएको भन्ने हल्ला चल्थ्यो उहाँका बारेमा ।) तर, यहाँ पकाउनु भनेको दैनिकीभन्दा पनि पाहुना बोलाएर अथवा छुट्टी मनाउँदाखेरि धुमधामले अनेक–थोक पकाउने भन्ने पनि हुँदोरैछ, हामीलाई जस्तो हरेक दिन दाल, भात, तरकारी, अचार नचाहिने भएर पनि होला । मलाई आमैले पकाएको खाने बानी थियो, अचेल आफैँ पकाउँछु ।
२०१६ को ‘समर’ मा ‘म्याट’ ले एक दिन हामीलाई मेक्सिकन खान्की बनाएर खुवाउँछु भनेर ‘आर्टिचोक’ लिएर आयो र घरमै ‘ग्वाकामोली’ बनायो । ‘अभोकाडो’ लाई एउटा भाँडामा राखेर चम्चाले खुँड्यो । त्यसमाथि मसिनो पारेर काटेका प्याज, गोलभेँडा, लसुन हाल्यो । त्यसको माथि अलिकति नुन र बटर हालेर मोल्यो अलिबेर । त्यसमा चोपेर खाएको ‘आर्टिचोक’ मलाई मन परेको थियो । मैले उत्तिकै प्रेमले, चरर्र भुटेको कुखुराको पांग्रा चाख्न दिएको
थिएँ, उसलाई ।
ल ल ल
कुनै बिहान, अनायास के–के मिसाएर केही बनाउन मन लाग्छ । त्यसो गरेको दिन, दिनैभरि खाने कुरा या पेयका कुरा सोचेर हिँडिरहेको हुन्छु । त्यस्तै एक दिन, दोकान पुग्नेबित्तिकै कसैले सोध्यो, ‘बोतलमा छ कोकाकोला ?’ ‘छ’ भनेर सोडाहरूको ‘कुलर’ तिर देखाइदिएँ । अमेरिकामा १९७०–८० तिर चर्चामा रहेका ‘रिफ्रेसिङ जुस’ हरूका कुरा निस्किए । त्यो समय र सन्दर्भ परिचित थिएन मेरा लागि । तर, आफू हुर्किंदै गर्दाको समयमा ‘फ्यान्टा लेमन’ को क्रेज सम्झिएँ र सम्झिएँ ‘जोली’ भन्ने ‘ड्रिंक’ जसमा ‘स्यान्डी’ र ‘लेमोनेड’ दुईथरी फ्लेभर हुन्थे । बियर मिसिएको हुन्छ भन्ने चर्चा व्यापक थियो । ‘जोली’ पिउनुमा उत्तिकै डर, संशय र रोमान्च थियो, जति लुकेर बियर पिउनुमा थियो । पहिलोपल्ट मलाई ‘जोली’ सित परिचित गराउने मेरा कान्छा मामा थिए ।
कान्छा मामाले अक्सर कुरैकुरामा रनभुल्ल पारिदिन्थे । ‘ह्यान्डल’ मा डोरीले बाँधेर आमैले बाल्टी फुत्त ‘अन्डरग्राउन्ड’ ट्यांकीमा फाल्दाखेरी हामी नुहाउन तयार भएर बसेका हुन्थ्यौँ, कुनै शनिबार । कान्छा मामा मुडामा बसेर हत्केलाले निधारको घाम छेक्दै मलाई जिस्क्याउँथे, ‘यसपालि दसैंमा गोरखा जानी कि लमजुङ ल भन ।’ मलाई तासको खाल खुब स्वाद लाग्थ्यो । मामाघर गए त्यो रौनक दिनहुँसम्म रहन्थ्यो । बाको घर गए त्यो रौनक भेटिन्थेन । भान्जा भनेर सबैले दिने ‘एटेन्सन’ मात्रै होइन, सुन्तलाको रूखमा तेर्सो परेको हाँगोमा बसेर एक्लो हुन पाउने कुरा पनि मेरा लागि प्रिय थियो । म पुलुक्क बालाई हेर्थें, किनभने बासित सातो जान्थ्यो । हाकाहाकी ‘ल म मामाघर जान्छु यसपालि’ भन्ने कुरा हुँदैनथ्यो । मामा पनि बासित डराउँथे, मसिनो स्वरमा मलाई फकाउँथे, ‘तिम्रो घरमा त फलफूल भनेको निमारो मात्रै हो । यसपालि बेलाउती गजब फल्या छ मामाघरमा । सुन्तला, कमला, किम्बु, आँपी, उखु, के खान्छौ ? अनि आमाले भ्याकुर पनि राख्दिनुभाछ नाति आउँछ भनेर ।’ मामाघरले त्यसरी तान्थ्यो । घरतिर फलफूल नपाइने त किन हुन्थ्यो र ! त्यो पनि उही किसिमका भूगोलमा ! तर, घरको तगारोनेरै चाहिँ निमारै मात्रै थियो । सुन्तला थिएन । बेलाउँती पनि थिएन ।


यता दोकानमा ‘फिग बार’ देखेपछि म झल्याँस्स भएँ । हजुरबाको घरको निमारोका बोटहरू त्यस्सै उभ्भिइरहन्थे । पाकेको निमारो मान्छेले खान्थे, अरू वस्तुले खान्थे । यता निमारोलाई ‘प्रोसेसिङ’ गरेर ‘फिग बार’, ‘ड्राई फिग’ र अरू कति धेरैथोक बनाउँदा रैछन् ।
‘होजे’ ले मलाई एकफेर बडेमानको माछा ल्याइदिएको थियो । ठिक्ठिकै मात्रै भयो मैले पकाउँदा । बाले पकाउनेजस्तो प्रक्रिया र पाकेपछिको स्वादको ‘रेफेरेन्स’ मा राखी हेर्दा म त्यसमा फेल भएँ । त्यसपछि एकफेर दुई झोला गंगटो ल्याइदियो । मैले केही गर्न जानिनँ त्यसलाई । खेर गयो । भोलिपल्ट दोकानमा सबका अगाडि मलाई खिस्याएको थियो, ‘सन् फ्लावर सिडजसरी प्याट्ट फुटाएर खानेगरी भकभक उमाल्ने मात्रै हो । अरू केही गर्ने हैन ।’ मचाहिँ त्यसमा मसला कतैबाट छिराउन पाए स्वाद पर्थ्यो भन्दै खोजिबसेको थिएँ । ‘तेरो गंगटो तैँ खा, नल्या
अबदेखि !’ भनेर पठाइदिएँ ।
‘होजे, यो माछा र गंगटोबाहेक अरू केही रमाइलो अनुभव छैन खानाका बारेमा ?’ अर्को दिन सोधेँ ।
‘छ नि, देख्दैनस् कसरी गोरा, काला र अरू रङका अमेरिकीहरूले आफ्नो खानामा स्पेनिस स्वाद मिसाउन थालेका छन् ? ‘अभोकाडो’ के हो थाहै थिएन कसैलाई । अहिले ‘ग्वाकामोली’ जसले पनि बनाउँछ, छ्यास्छ्यास्ती छ । तर, अझै पनि पुस्तौंपुस्ता यहीं बसेकाहरूले गेडागुडी उतिसारो प्रयोग गर्दैनन् । स्पेनिसहरूले खुब प्रयोग गर्छन् ।’
गेडागुडीको कुरा गरौं न ! अमेरिकामा पहिलोपल्ट क्यानमा बोडी, राजमा, सेतो चना र अरू गेडागुडी देख्दा छक्क परेको थिएँ । हाम्रातिर त रातभरी भिजाएर भोलिपल्ट ठ्याइँयँ ४–५ सिठ्ठी हानेर पकाइन्थ्यो । यहाँ त क्यान खोलेर पानी तर्काए पुग्ने, धेरै बेर पकाउनु नपर्दो रैछ ।
‘२०१६ मा, एउटा क्लासमा प्रोफेसर ‘एन्डी कउल’ ले खाना र मनोविज्ञानका बारेमा केही भन्दै थिए । मैले कहिल्यै पनि साग काँच्चै खाएको थिइनँ । तर, जब त्यो कुरा सुनाएँ, सबैले मतिर चकित भएर हेरिरहे । साग पकाएर पनि खाइन्छ भन्ने कुरा उनी र क्लासका अरूका लागि अनौठो कुरा भइदिएको थियो ।’
‘हो नि, यस्ता कुराहरू मलाई रमाइलो लाग्छ । हामीलाई कति कुरा थाहै छैन । म मेरा केटाकेटीलाई भन्थेँ, जिन्दगी बाँच्ने हैन अवलोकन गर्ने हो, पढ्ने हो ।’ मलाई गंगटो ल्याइदिने ‘होजे’ यही ‘होजे’ हो त ! गहिरो
कुरा गर्‍यो ।
ल ल ल
पाकेको फर्सीका रङहरूले छपक्कै छोपेका ‘सुपरमार्केट’ हरूतिर बेलाबेला पुगिरहेको हुन्छु । ताछेर अनेक आकृति बनाइएका फर्सीहरू सबैका लागि रमाइलो दृश्य हो । सुरुसुरुमा मलाई पनि रमाइलो लाग्थ्यो । त्यतिबेला म आमा बालाई सम्झिन्थेँ । त्यस्तो मजाले पाकेको फर्सी पाए आमा–बाले अर्थोकको तरकारी रुचाउँथेनन् । अमेरिकामा त ती सजावटमा प्रयोग हुन्छन् । ‘ह्यालोविन’ ताकाचाहिँ पाकेको फर्सी जेमा पनि मिसिन सक्छ— कफीदेखि खानासम्मै । बस्टनका ‘कफीसप’ हरूमा ‘स्पाइसी पम्पकिन लाटे’ को हाईहाई भएको देखेको छु ।
बस्टनको ‘फुड कल्चर’ मा एउटा नछुट्ने नाम हो– ‘माइक्स पेस्ट्र’ । ‘माइक्स पेस्ट्री’ को ‘कनोली’ को उम्दा महत्त्व छ बस्टनमा । खुवाजस्तो, कुराउनीजस्तो, ‘आफ्टर टेस्ट’ धेरैबेरसम्म बसिरहने । अनि ‘एल्.ए. बर्डिक्स’ को ‘हट चकलेट’ को स्वाद पनि जिब्रोमा धेरै बेर खेलिबस्छ । हिउँ परेका दिनहरूमा ‘हार्वड स्क्वायर’ को यो क्याफेमा झन् धेरै भीडभाड हुन्छ । ‘अल्सटन’ को ‘योगर्ट प्लेस’ रमाइलो थियो । कुनै पनि फलफूलको ‘बेस’ रहने ‘योगर्ट’ मा किस्मिस र चकलेट सबै आफैँले छानेर मिसाइसकेपछि जोखेर तौलअनुसारको पैसा तिर्ने । बस्टनको ‘कोलम्बस एभ’ र ‘मास एभ’ को ‘इन्टरसेक्सन’ मा रहेको न्युयोर्क पिज्जाको ‘सिंगल स्लाइस’ का ‘अप्सन’ देखेर म जिल्ल परेको थिएँ । नेपालमा पिज्जा भनेको कहिलेकाहीँको ‘लक्जरी’ हुन्थ्यो मेरा लागि । समुनाजी र मैले एकफेर ठमेलको ‘रोडहाउस क्याफे’ मा २८०० तिरेको सम्झिन्छु । यहाँ त मनमैंजुको पुलपारिको दोकानमा १० को तीनवटा दुनोट किनेर खाएजसरी खाइरहेको देख्छु । पिज्जाको इज्जत अलि धमिलो देख्छु । न्युयोर्क पिज्जाका ‘स्लाइस’ हरू बडेमानका हुन्छन् । एक जनालाई ड्याम्मै हुन्छ, एक ‘स्लाइस’ ले । कुनै ‘स्लाइस’ मा ‘फ्रेन्च फ्राइज’ मिसाएको, कुनैमा ‘पास्ता’ टाँसेको । अर्कोमा साग पनि मिसाएको । अर्कोमा फेरी ‘बेकन’ र भुइँकटहर । कोही बेला त मलाई छान्नै दिक्क लाग्छ । स्वादभन्दा भोक ठूलो भएको हुन्छ कोही बेला । के खाएको हो थाहा नपाउने गरी खान्छु एउटा कुनै ‘स्लाइस’ ।
सामान्यतया लन्च या डिनरअघिको हल्का नास्तामा राखिने सलाद आफैँमा लन्च या डिनर हुनसक्दोरैछ भन्ने मैले ‘स्विटग्रिन्स’ बाटै थाहा पाएको हो । ‘स्विटग्रिन्स’ विभिन्न किसिमका तरकारी, फलफूल, माछामासु र सागपातहरूको मिश्रणले लोभलाग्दो ‘सलाद बौल’ बनाउने चेन रेस्टुरेन्ट हो । भिटामिन, प्रोटिन र अरू आवश्यक तत्त्वहरू एउटै ‘बौल’ मा भेटिने भएर यो स्वस्थ खानेकुरा खोज्नेहरूको रोजाइमा परेको हो । ‘ह्यामबर्गर’, ‘ब्राउनी’ र ‘एप्पल पाई’ भेटिन्छ अमेरिकाको राष्ट्रिय खान्की भनेर खोज्दाखेरि । ‘म्याडोनाल्ड’ र अरू ‘चेन बिजनेस’ का खान्कीबीचमा सलादको खपत अचेल धेरै देखिएको छ । सलादमा लगानी बढेको बढ्यै छ । ‘स्विट्ग्रिन्स’ का ‘सलाद बौल’ हरूको सरदर मुल्य १० डलर जति पर्न आउँछ । ३ जना तन्नेरीहरूले सुरु गरेको ‘स्विट्ग्रिन्स’ को अहिलेको ‘भ्यालुएसन’ लगभग १.६ बिलियन डलरको छ । ९ वटा राज्यमा १०० भन्दा बढी शाखा छन् । जनवरी ४, २०२० को न्युयोर्क टाइम्सको एउटा फिचरका अनुसार, ‘स्विटग्रन्स’ ले पनि ‘स्टारबक्स’ ले जत्तिकै अम्मली बनाइदिन्छ तर ‘स्विट्ग्रिन्स्’ ले जगाइदिने अम्मल ‘क्याफिन’ को होइन, खानाको माध्यमबाट दिने आनन्द हो ।
कुनै समय थियो, हप्तामा लगभग ३ दिन जति समुनाजीले ‘सलाद बौल’ लिएकी हुन्थिन् । मलाईचाहिँ उही तारे/पोले/भुटेकैको खोजी हुन्थ्यो । सलाद भनेपछि काँक्रो, गाजर र मुलाका टुक्रा, त्यसको छेउमा अलिकति चाइनिज साग– मलाई बानी परेको सलाद त्यही थियो । ‘स्विट्ग्रिन्स’ को सलादमा सुरुमै दुई–तीनवटा ‘अप्सन’ हुन्छ । ‘वार्म बेस’ का लागि ‘वाइल्ड राइस’, ‘किनोआ’ अथवा सेतो चना । त्यसपछि ‘केल’ र अन्य प्रकारका सागको छनोट । आफूले छानेर मन लागेको ‘मिक्स’ बनाउनेभन्दा बाहेक अरू पनि धेरै नामका सलाद हुन्छन्, त्यसमा के–के हाल्ने हामीले भनिराख्नुपर्दैन, उनीहरूले बनाएर दिन्छन् । आफैँले छान्नेमा ‘वार्म बेस’ र ‘चोइस अफ ग्रिन लिभ्स’ पछि अरू चार थोक छान्न पाइन्छ सामान्यतया । त्यसमा साँधेको ब्रोकलीदेखि, गान्टेमुला, सलगम, बिट्स, स्प्राउट्स (कुर्लुङकुर्लुङ परेको टुसा), ग्रिल्डदेखि अरूथरीका चिकेन, च्याउ, स्याउ, नास्पती, आलु, सखरखण्ड, सेतो काउली, तोफु, गेडागुडी, गहतजस्तै देखिने लेन्टिल, उसिनेको अण्डा, रोस्टेड लसुन, प्याज, गोलभेँडा, ह्यालापिनोसम्मको रेन्ज भेटिन्छ । ‘गोट चीज’ देखि लिएर अरू कतिथरी ‘चीज’ को ‘अप्सन’ पनि हुन्छ । साल्मोनदेखि अरू केहीथरी माछाका टुक्रा पनि । त्यो सबैपछिको स्टेपमा ‘ड्रेसिङ’ को छनौट । ‘ड्रेसिङ’ मा सामान्यतया केचप र मायोनिज थियो मैले थाहा पाएको । त्योबाहेक ‘बार्बेक्यु सस’, ‘बफेलो सस’, ‘स्पाइसी क्यास्यु’, ‘हनी मस्टर्ड’ र अरूहरू पनि पाइन्छ । मलाई ‘स्पाइसी क्यास्यु’ मन पर्छ । त्यसमा पनि पिरोको मात्रा छान्न पाइन्छ, धेरै थोरै या ठिक्कको । ‘ड्रेसिङ’ पछि किसमिस र अन्य झुर्रमुर्र हाल्ने भए छान्न पाइन्छ । प्राय दाख, काजु, पेस्ता, आल्मोन्ड, ओखर, ‘सनफ्लावर सिड’ हुन्छन् । मलाई दाख र ‘सनफ्लावर सिड’ मन पर्छ । त्यसपछि त्यो सबैलाई चटपटे बनाउँदाखेरि फिटेजस्तै गरी मिसाइदिन्छन् । पाउरोटीको टुक्रा पनि लिन पाइन्छ । फुक्को पाउरोटी के टोक्नुजस्तो लागेर लिँदैनथेँ पहिला, तर कोही बेला ठीकै लाग्छ । म प्रायः एक टुक्रा कागती पनि माग्छु र ननिचोरीकन सबैभन्दा माथि राख्छु थपक्क । गुलियो र नुनिलो मिसिएको मलाई मन पर्थेन तर यो गजबको चीज फेला पर्‍यो, मलाई मन पर्‍यो । पिज्जामा चाहिँ यस्तो छ्यासमिस टेस पर्दैन अझै पनि ।
‘फुड कल्चर’ धेरै महत्त्वपूर्ण कुरा हो । त्यसले सिंगो भूगोललाई ‘डिफाइन’ गरिदन सक्ने सामर्थ्य हुन्छ । पाल्पामा चुकाउनी खाने भनेरै बाइकमा बत्तिन्छन् मान्छेहरू । माछै खान भनेर कहाँ कहाँदेखि मलेखु पुगिदिन्छन् । मान्छेहरू घुम्न जान्थे, खानासित जोडिन्थ्यो हरेक घुमघाम । मैले आफ्नो सम्बन्ध देख्दैनथेँ त्यसमा । तर यो अगस्टमा न्युयोर्क जाँदा खानासित अनौठो सम्पर्क रह्यो । म बस्टनमा बसेको नेपाली, कोही बेला नेपाली खानाको ‘क्रेभिङ’ हुँदा भारतीय मेनुबाट खोजेर केहिले चित्त बुझाउनुपर्छ । खसीको मासु, आन्द्रा भुँडी फ्राई खान मन हुन्छ । तर इन्डियन रेस्टुरेन्टहरूमा त्यसको मेनु भेटिँदैन । तर न्युयोर्कले सबथोक दियो । बस्टनदेखि मात्रै होइन, अरू कति ठाउँबाट खानाकै लागि न्युयोर्क पुग्नेहरू छन् । टिमुरको छोपदेखि पोलेको आलुसम्म पाइन्छ । न्युयोर्कमा ‘ह्वाइल इन काठमाडौं’ मा नेपाली र अन्य खानेकुराहरूको ‘फ्युजन’ एकदम राम्रोसित मिलाएको देखेँ । त्यो भीड, त्यो भागदौडमा पनि खानाले मान्छेलाई शान्त राख्न सकेको होलाजस्तो लाग्छ कहिलेकाहीँ न्युयोर्क देख्दा । सहरले सबथोक चुसेर खङ्ग्रङ्ङै बनाइदिने सामर्थ्य राख्छ तर आफूले चाहेको खानेकुरा टक््रयाउन सक्ने सहर एकदमै ज्युँदो र ‘भाइब्रेन्ट’ पनि हुन्छ ।
खाना भनेको साथी पनि हो । उत्तिकै ‘सेभर’ गर्न सक्ने मान्छेहरू भए भने खाना झन् नजिकको साथी बन्छ । छेउछाउका ‘स्न्याक्स’ हरूले जीवनको एउटा कालखण्ड र त्यो कालखण्डका गीतहरू सम्झाइदिन्छन् । गीतका धुनहरू मात्रै होइन, शब्दहरू पनि । खाना एक ‘नोस्टाल्जिया’ पनि हो । उज्ज्वलले जब खाना त ‘थेरापी’ हो भन्यो, मलाई २००९ तिरको एउटा सम्झनाले बोलायो । खाने प्रक्रिया आफैँमा ‘थेराप्युटिक’ हुन्छ ।
रत्नराज्य क्याम्पसमा पढ्दाखेरि साथी भूषिता वशिष्ठको ‘औरा’ र अनुहारको ‘ग्लो’ गजबको थियो । पत्रकारिताको दोस्रो या तेस्रो वर्षको ‘भाइभा’को दिन थियो । आफ्नो पालो पर्खिउन्जेल क्याम्पसबाहिरको क्याफेमा खाजा खान जाँदाखेरि उनीसित टेबल ‘सेयर’ गर्न पाएको थिएँ । उनले हरेक गाँसमा आँखा चिम्म गरेको, खाना राम्ररी चपाएको, अलिबेर त्यसलाई ‘सेभर’ गरेको मैले देख्न पाएँ । त्यति आनन्दले कसैले खाना खाएको मैले देखेको थिइनँ । त्यसमा थियो होला ‘थेराप्युटिक’ आनन्द । यो लेख पढ्यौ भने भन्दिनू है साथी त्यो के थियो ।

कोसेली

बुझ्न बाँकी जीवन

 

ठीक कुन दिन मानिस बूढो हुन्छ ? थाहा छैन । ठीक कुन बिहानीले अनुहारमा चाउरीको पहिलो खाता खोलेर जान्छ ? त्यो पनि थाहा छैन । तर, बूढो हुँदै गएपछि आफ्नै इन्द्रियहरू पनि आफ्ना नभइदिने रहेछन् । मानौँ इन्द्रियहरू रिटायर्ड भएका हुन् ।
परार साल दसैँको कुरो हो, ८४ वर्षीया हजुरआमाले टीका लगाइदिँदै गर्दा मेरो बुवालाई अर्थात् आफ्नै कान्छो छोरालाई ‘को हो ?’ भन्दै सोध्नुभयो । एक छिन यसो अनुहारतिर हेरेजस्तै गरेपछि आमाले ‘ज्वाइँ हो ? ए ! ज्वाइँ पो हुनुहुँदो रहेछ’ भन्दै टीका लगाउन थाल्नुभो ।
हजुरआमाको काननजिकै पुगेर ठूलो बुवाले भन्दिनुभयो, ‘हो, हो ज्वाइँ नै हो तर सम्दिको ज्वाइँ हो ।’
‘ए ! मेरै छोरो पो रै‘छ, कान्छो हो ?’ भन्दै टीका लगाएर हजुरआमाले मेरो बुवालाई आशीर्वाद दिनुभयो ।
हाँस्न त उपस्थित हामी सबैजना हाँस्यौं । तर, एकछिनमा हाँसोको लयमा प्रश्नहरू पृथ्वीजस्तै गोलो भएर घुम्न थाले ।
आफूले नौ महिना गर्भमा राखेर पाएको छोरोलाई आमाले ‘ज्वाइँ’ भन्दै गर्दा मलाई जीवनबोध भयो ।
टीका लगाइदिँदै गरेको बुवाको त्यो निधारमा हजुरआमाले कतिपटक म्वाईं खानुभएको थियो होला ? बल्लबल्ल पहिल्याएर जमारा लगाइदिँदै गरेको कानमा आमाले कतिपटक कति थोपा तेल हाल्दिनुभएको थियो होला ? हजुरआमाले आशीर्वाद दिँदै गरेको त्यो शिरलाई सानोमा कतिपटक नुहाइदिनुभयो होला ? नुहाइदिँदै गर्दा कतिपटक हजुरआमाका कति चुराहरू चुके होलान् ? हजुरआमाले बुवालाई कतिपटक तेल लगाइदिनुभो
होला ? आफ्नो जुठो गाँस कतिपटक खुवाइदिनुभो होला ?
आफ्ना कति गाँस कटौती गरेर हजुरआमाले हाँसीहाँसी बुवालाई ‘को खाई को खाई’ भन्नुभो होला ? बारीको छेउमा बुवालाई सुताएर हजुरआमाले कत्तिपटक आत्तिईआत्तिई घाँस काट्नुभो होला ? बुवाले सानो छँदा नजानेर अरूको काम बिगारिदिँदा हजुरआमाले कत्तिपटक आफ्नो सारी पछाडि लुकाउनुभो होला ? हजुरआमाले कत्तिपटक बुवाको ‘कालो’ अनि चिल्लो गालामा म्वाईं खानुभो होला ?
तर, ती सबै म्वाईं हजुरआमाले कसरी बिर्सनसक्नुभएको होला ?
भोलिपर्सि छोराछोरीले पीठ फर्काउलान् कि चिनेर पनि नचिनेझैँ गर्लान् कि भन्ने बेलामा हजुरआमाले नै आफ्नै छोरालाई चिन्नुभएन ।
आज हजुरआमाले बुवालाई नचिनेजस्तै भोलि बूढो भएपछि के बुवाले पनि मलाई नचिन्नुहोला ?

सबै जोडिएका सम्बन्ध, अनि सम्बन्धको नाम बिर्सिएजस्तै हजुरआमाले कत्ति कुराहरू बिर्सनुभो होला ? कत्तिसँग त झगडा पनि त गर्नुभो होला नि उमेरमा ! अहिले सबै बिर्सनुभो ।
हजुरआमालाई हेर्दा आफ्नै भविष्यको ऐना हेरेजस्तै लाग्ने ! म पनि त भोलि बूढी हुनेछु ।
म पनि मेरा छोराछोरी बिर्सनेछु । भोलि म आफैंले गरेको प्रेम बिर्सनेछु । भोलि गएर म आफैंले गरेको झगडा बिर्सनेछु । मैले मेरा मित्रहरू बिर्सनेछु । शत्रुहरू पनि बिर्सनेछु । आज मलाई लाग्ने विशाल प्रतिस्पर्धा सबै बिर्सनेछु । कसले जित्यो, कसले हार्‍यो भनेर लेखिएको मनरूपी खाताको अडिट मैले सबै बिर्सनेछु । आजको म भोलिको हजुरआमा भएर हेर्दा त मैले गरिरहेका तमाम प्रतिस्पर्धा त स्मरण नै नहुँदा रहेछन् । भोलि म बूढी भएपछि त मेरा लागि सबै शून्य हुँदा हुनेछन् ।
जीवनको यही शून्यतालाई अनुभूति गर्न सिकाउनुभएकी हजुरआमा आज त्यही शून्यतामा बिलाइसक्नुभएको छ ।
ल ल ल
गएको कात्तिक १० गते, लक्ष्मीपूजाको दिन । दिउँसो करिब २ः४५ बजे, आमाले प्राण छोड्नुभयो भन्ने खबर आइपुग्यो । अबेला राति हामी सपरिवार घर (चितवन) पुग्यौँ ।
घर पुग्दा मझेरीमा हजुरआमा मस्त ‘सुतिरहनुभएको’ थियो । यसरी सुतिरहनुभएको थियो कि मानौँ हजुरआमा एकैछिनपछि ब्युँझिहाल्नुहुनेछ ।
‘को हो हजुरआमा, म ? ल भन्नु त !’ भन्दै मानौँ म हजुरआमालाई जिस्क्याउँथें । तर, हजुरआमा त ‘सुतिरहनुभएको’ थियो । मानिसको भीड, चहलपहल अनि चिसो, केहीको
पर्वाह नगरी ।
मैले हजुरआमालाई टाढाबाट हेरेँ, हेरिरहेँ ।
तुलसीको मोठनजिकै सुतिरहनुभएकी हजुरआमालाई मध्यराति बल्ल मैले स्पर्श गर्ने हिम्मत जुटाएँ । आमा चिसो हुनुहुन्थ्यो । खुट्टा खोच्चिएकै अवस्थामा प्राण गएकाले आमाको एउटा खुट्टा ‘फ्रिज’ भएको थियो । मानौँ आमा सुतेर गरिने अधिष्ठानमा ध्यानस्थ हुनुहुन्थ्यो ।
मानिसको भेला हुने क्रम अबेरसम्मै जारी हुनाले भोलि मात्रै सद्गत गर्ने भयौँ ।
भोलिपल्ट सखारै हामी नारायणी तटमा पुग्यौँ । अंश–अंशमा क्षीण भइरहनुभएकी हजुरआमालाई मैले हेरिरहेँ । एउटा ८८ वर्षीया इतिहास जल्न सुरु हुँदै थियो ।
आमाले घाममा तेल लगाइदिएको पैंचो छोराहरूले शरीरभरि घीउ दलिदिएर तिर्नुपरिरहेको थियो । आमाले ‘को खाई को खाई’ भनेर खुवाएको पैंचो आमाको मुखमा दागबत्ती दिएर गर्नुपरिरहेको थियो ।
आगोको लप्का पिएर आमा हेर्दाहेर्दै खरानी हुनुभयो । ‘तेते लाइ लाइ नानी बढ्बढ्’ भन्दै शिरमा थपथप्याउँदै हुर्काएकी आमाको टाउको नजल्दा घोचोले हानेर जलाउनुपरेको थियो ।
संसारमा योभन्दा कठोर नियम अरू केही हुन सक्ला र ?

सम्भवतः संसारको सबैभन्दा न्यानो घर नै आमाको पाठेघर हो । सायद बाँचुन्जेल मानिस जीवनभर त्यही न्यानोपनकै लागि भौंतारिरहँदो हो । र, जाँदाजाँदै पनि मानिस आखिर त्यही न्यानोकै काखमा निदाउन लालायित हुँदो हो ।
सधैँ नुहाउने बेला हजुरआमा भन्नुहुन्थ्यो, ‘नानी, नांगै नुहाउनुहुन्न है । पानीमा इष्टदेवता हुन्छन् ।’ अनि गोपिनीहरूले गंगामा नांगै स्नान गर्दा कृष्णले लुगा लुकाइदिएर सजाय दिएको किस्सा सुनाउनुहुन्थ्यो ।
पानीको इष्टदेवतासँग डराउने हजुरआमा आगोको इष्टदेवतासँग भने डराउनुभएन । नग्न शरीर लिएरै आमा आगोमा विलीन हुनुभयो । खरानी हुनुभयो । र, भवसागरबाट तैरनुभयो ।
अनायासै सद्गतको यो सम्पूर्ण परिदृश्यलाई पण्डितको ठूलो स्वरले एकाएक बिथोलिदियो, ‘हिजो कात्तिक १० गते दिउँसो २ः४५ बजे ममतामयी हजुरआमा कमला देवकोटाको असामयिक निधन भएको हुनाले आज उहाँको सद्गत तथा श्रद्धाञ्जली सभाका लागि हामी भेला भएका छौँ । उहाँ तीनभाइ छोरा, दुई छोरी,आठ ज्वाइँ, तीन बुहारी, चार नाति, सात नातिनी, तीन नातिनी बुहारी, पाँच पनाति, तीन पनातिनीकी धनी हुनुहुन्थ्यो ।’
ओहो ! एउटा मानिस नजन्मिएको भए ? वंशवृक्ष यसरी हुर्कने थिएन ।
उमेरमै विधवा हुनुभएकी हाम्री हजुरआमा वंशावलीलाई कति धनी बनाएर जानुभएकी ? आफ्नो अंशलाई यति धेरै अंशमा छाडेर ! ज्यामितीय अनुपातमा !
मानौँ आमा आँपको बीउ हो । जुन बीउको स्वयम् अस्तित्व छैन । तर, बीउले आफ्नो अंश रूखभरिका लटरम्म आँपमा छाडेर गएको छ ।
बस्, जीवन त चली नै रहन्छ नि !
जाँदाजाँदै फेरि पनि आमाले जीवनबोध गराएर जानुभयो ।
जीवन शून्य त छ । तर, ती शून्यको अगाडि अंक भने थप्न सकिन्छ ।
बस्, बुझ्न बाँकी जीवन त यत्ति नै पो रहेछ ।

Page 20
समाचार

बाका बाह्र व्यापार

स्कुलको एक्जाम नदिई घर फर्किएँ । ड्रेस नखोल्दै बालाई गुनासो पोखेँ, ‘योपटक साँच्चै एक्जाम हलमा बस्न दिएनन् । फी नतिर्ने सप्पैलाई फर्काइदिए ।’
आमाको निराश अनुहार ढोकाको किनारबाट झुल्कियो । उहाँको गला खुलेन । बातर्फ हेरिरहनुभयो केवल । आमालाई बाको आवाजको पर्खाइ थियो । बाको दाहिने ओठ व्यंग्यगत तवरले मुस्कुरायो । सायद स्कुलमाथिको व्यंग्य थियो । हुन सक्छ त्यो आफैँमाथिको व्यंग्य थियो, ‘ठीकै छ । योपटक अरू कसैलाई फस्ट आउन दे !’
ठट्टाजस्तो । अनपेक्षित । गैरजिम्मेवार शब्दहरू । फेरि पनि मलाई त्यो कुरासँग आपत्ति लागेन । छ–सात कक्षामा पढ्ने फुच्चेसँग गतिलो तर्क पनि त हुँदैन । बाले नै त्यसो भनेपछि मेरो चिन्ता घाम चर्केपछिको तुँवालोजस्तै हरायो, तितरबितर । उहाँको उद्देश्य थियो— मलाई नकारात्मक असर नपरोस् । तर, त्यही कुराले बालाई गहिरो असर पुर्‍याएछ । उहाँलाई चिन्तित मात्र होइन, हैरान एवं परेसान बनाएछ । त्यही घटना थियो बालाई बम्बै (इन्डिया) सम्म घोक्य्राउने । र, बा ‘गोर्खाली/बहादुर’ बनेर हिँड्नुभो बम्बै ।
त्योअघि बाले पैसा कमाउन थुप्रै प्रयास गरिसक्नुभएको थियो । मुग्लान बाको पैसा कमाउने अन्तिम प्रयास थियो ।
बाका लागि मुग्लान पस्नु अपेक्षित थिएन । न त त्यो जीवनको स्वाभाविक मोड थियो । चौकीदारी, स्याउ बोक्ने भरिया वा परिआएको काम गर्न तयार भई बाका पाइलाले दूरी त तय गरे । तर, हेर्नै बाँकी थियो— बाको जीवनको विषम परिस्थितिको नतिजा । बा सरकारी शिक्षक हुँदा स्याउ बोक्न मुग्लान जानुपर्ला भन्ने कल्पना थियो होला उहाँसँग ? के उहाँले कुनै सेंठको महलअगाडि चौकीदारी गरेर बस्नुपर्ला भन्ने सोच्नुभएको थियो होला ? कालोपाटीमा सरकारी चक घोटिरहँदा बाले मुग्लानमा घोटिनुपर्ने कुरा खराब सपनामा समेत देख्नुभएको थिएन, पक्कै । तर, समयको खासियत यस्तै छ । यसका बक्ररेखा कसरी कोरिन्छन्, कोही जान्दैन । समान रूपले बगिरहेको जीवन कसरी भिक्टोरिया फल्सजस्तै झर्न सक्छ एक्कासि ? दुःखको गहिरो खोँचमा !... को जान्दछ सबथोक ?
केही यस्ता गल्ती हुन्छन्, जसले सहीभन्दा उच्च कोटीको परिणाम ल्याउँछन् । त्यस्तै भूल थियो— बाले सरकारी जागिर छोड्नु । त्यो भूल ज्यान रोज्नुजस्तै थियो । जागिर बगाइदिनु आफू किनार लाग्नुजस्तै थियो । आखिर भूल भूल नै त हो ! त्यो भूलले परिवारको सम्पूर्ण स्रोत निमोठ्यो, हाम्रा बाल्यकालीन रहर र मीठो गाँस पनि खोस्यो । पेन्सन पाक्नै आँटेको जागिर छोड्नु पक्कै बाको रहर थिएन ।
बाले जागिर छाड्नु दुई दिनअघिसम्म सबथोक कुशल थियो । त्यस दिनबाट बिग्रियो जुन दिन छापामारहरू कक्षाकोठामा पसे । कालोपाटीमा आधा कोरिएका अक्षरहरू बालाई पूरा गर्न दिइएन । र, उनीहरूले घोक्र्याउँदै लगे बालाई, धानखेतमा । र, दिनभर त्यहाँ धान काट्न लगाए । नानाभाँती धम्की, ‘यो त सुरुआत हो । एक–दुई दिनमा देख्लास् !’
गाली, ‘माँ... !’ आरोप लगाए, ‘चन्दा बुझाउँदा पनि गनगन गर्छस् रे !’ 
त्यो साँझ गाउँको चियापसलमा पसेपछि थाहा भयो, छापामारले स्कुलको अफिसमा पसेर प्रध्यानध्यापकलाई समेत सूचित गरेछन्, ‘आफू बिदामा गईकन अरूलाई खेताला राख्न्या मास्टर क्या चाइयो ? जतिबेला पन नराम्रो खबर आउन सक्छ । कानमा 
धार लाइराख ।’
हामीलाई भेट्न बा तराई आउनुहुन्थ्यो कहिलेकाहीँ । कसैलाई दुई–चार दिनलाई खेताला (शिक्षक) राखेर । त्यो नै बाको ठूलो गल्ती साबित भयो । आफूलाई कारबाही हुने गाइँगुइँ हल्ला त सुनिन्थ्यो पहिल्यै । त्यही हल्ला साँचो हुने लक्षण देखिँदै थियो । छापामारले अफिसमा पसेर दिएको धम्कीले बाको डर झनै अग्लियो । त्यसको पछिल्लो दिन झनै कुरूप खबर कानमा पोखिदियो शुभचिन्तकले, ‘भोलि दिउँसो खास कारबाई हुन्या कुरो चुह्याको छ । उपाया सोचिराख काका ।’ ...त्यसपछि निकै थर्थरायो बाको हृदय अस्तव्यस्त, जसरी दमाहाको छाला थर्थरिन्छ ड्वाङ्ग हिर्काएपछि ।
यो लेख लेखिरहँदा एक साँझ मैले बालाई सोधेँ, ‘त्यस्तो डरलाग्दो खबर सुन्दा मगजमा के घुमेको थियो ?’
बाले एकै छिन दायाँबायाँ मुन्टो मोड्नुभो । विगतका कुराले आँखा भावुक देखिनुभो, ‘छोराहरूको अनुहार सम्झिएँ ।’ त्यतिले उहाँको चित्त बुझेन, ‘त्योबेला चारैतिर शिक्षकका डरलाग्दा दुर्घटनाहरू सुनिन्थे । आफ्नै दुर्घटना कल्पिएँ ।’
हो त । कस्ता घटना भएका थिएनन् त्यो समय ? रूखमा बाँधेर चुट्दासमेत चित्त नबुझ्दा हात–खुट्टा भाँचिएनन् र ? त्यतिले पनि चित्त नबुझ्दा लाससमान शरीरलाई खुकुरीले चिरिएन र ? घाउमा नुनखुर्सानी दलिएन र ? अनि त्यतिले पनि चित्त नबुझ्दा गोली ठोकिएन र छातीमा ?... स्वयम् ईश्वरलाई समेत थाहा हुन्थेन, कसलाई के हुन सक्थ्यो त्यो समय ?
त्यही अन्योल परिस्थितिले जन्मिएको डरका कारण बाले राजीनामा बुझाउनुभयो । बिहानको प्रथम प्रहरमै । र, हतारिँदै तराई झर्नुभयो ।
आफन्तहरूले राय राखे, ‘कृष्णले त्यसो नगरे हुन्थ्यो । तीन–चार वर्षमा पेन्सन पाकिजान्थ्यो । जेठो छोरो कम्तीमा एसएलसी त गर्थ्यो ।’ 
तर, त्यो बिहानै बाका पैताला तराईतिर नकुदेको भए, दिउँसो स्कुल पसेको माओवादीको हूलले के गर्थ्यो कारबाहीको नाममा ? को भन्न सक्छ ? कसैले उहाँको गलामा धारिलो खुकुरी राख्न सक्थ्यो । अथवा, कन्चटमा बन्दुक तेर्स्याउन सक्थ्यो । अनि त्यसपछि ? हतियार समाउनेको मुड ! माथिको आदेश ! वा छापामारहरूकै योजना !
कदाचित् केही भएको खण्डमा तिनै राय राख्नेहरू भन्थे, ‘त्यत्रो सुइँको पाको थियो । जागिरको माया नमान्नुपर्ने ।’
जिन्दगीमा परिणामपश्चात् राय राख्नुजस्तो सजिलो काम सायद अर्को छैन । र, जीवनको एक पाइला, एक मोड र एक कार्यले नै पूरै जीवनको नक्सा फेर्न सक्छ यसमा पनि शंका छैन । जीवनमा एउटै पाइलाले समेत अभूतपूर्व परिणामसँग अर्थ राख्छ । बाको त्यो एक पाइलाले बालाई मात्र तराई झारेन । पूरै परिवारलाई ‘युटर्न’ 
गरायो । परिवारको स्थिति, बाजस्तै झर्‍यो ओरालै–ओरालो । ठीक त्यसरी, जसरी खड्कावाडाको पहाडनेर नीलो कर्णाली कम्मर ढल्काउँदै मोडिन्छ, तराईतिर । खैर, जे भयो अछ्छा भयो । परिवारका अन्य सदस्यजस्तो दुःखी भइनँ म । मलाई त झन् खुसी लाग्यो, ‘बाले पहाड जानु पर्दैन अब ।’
त्यसपछि सुरु भए बाका अनेकन प्रयास, जसमा बाले सुन्ना अंक मात्र डिजर्भ गर्नुहुन्छ । यो त्यही असफताको कथा हो ।
व्यापारको सुरुआत नै खराब रह्यो । पहिल्यैदेखि अंकललाई जिम्मा लगाइएको पसल बेच्नुपर्‍यो । बाले सोच्नुभएको रहेछ, त्यो पसल थप राम्ररी चलाउनुपर्ला । तर, त्यो ‘जुत्ता–चप्पल’ पसल खाली खुट्टा कुदिरहेको रहेछ, ओरालो । बाजस्तै... । पसलको मूल्यांकन नाटकीय किसिमको न्यून थियो !
लगानीभन्दा दस गुणा कम । पसल त भित्रभित्रै फर्सीझैँ कुहिएको रहेछ । ऋण पुरानै बाँकी थियो, थप लगानी गर्ने साहस थिएन बासँग ।
पसल बेचिसकेपछि बाले आश्वासन दिनुभयो, ‘केही नयाँ गरिहाल्छु, पख् ।’ त्यो कुराले आमा ढुक्क हुनुभयो । हामी त झन् सानै थियौं क्यार ।
बा ‘फरक’ गर्नुपर्छ भन्ने धुनमा हुनुहुन्थ्यो । नयाँ कुरा सोच्न बालाई केही महिना लाग्यो । जे सोच्नुभयो विछट्टै सोच्नुभयो, ‘यहाँ पनि कफी र नरिवल खेती गर्नुपर्‍यो । मरीच पनि फल्छ होला । त्यो सफल भएपछि चिया पनि पक्कै फल्छ । झापा पनि तराई नै त हो ।’
मलाई मात्र होइन, धेरैलाई त्यो अचम्मलाग्दो लाग्यो । मैले पनि एकपटक घरको जग्गावरिपरि चिया बगानको कल्पना गरेँ । टीभी र तस्बिरबाहेकमा ती कुनै पनि चीज देखेको थिइनँ । कतिपय मानिस त्यो कुरा सुनेरै हाँसे । तर, बा दृढ भएर झापा जानुभो । त्यहींबाट दुई बोरा कफी, आठ–दस बोरा नरिवलको बीउ र साथमा मरीचका लहरा ल्याउनुभो । त्यो रोप्न भाइ र मैलेसमेत मद्दत गर्‍यौं बालाई । बा भन्नुहुन्थ्यो, ‘यो स्याम्पल खेती हो । सफल भएमा जग्गा लिजमा लिएर गर्नुपर्छ ।’
हामीलाई लागेको थियो, स्याम्पल खेती पक्कै सफल हुनेछ । मेरै हातले रोपेको नरिवल कसो नउम्रिएला ? र, त्यो फल्नेछ पनि । त्यसपछि बिघौं जग्गामा व्यापार फैलिनेछ, बोटका पातहरू फैलिएजस्तै । तर... नतिजा सोचेजस्तो मीठो निस्किएन । कल्पना र भावनाभन्दा यथार्थ पक्कै पनि फरक हुन्छ । त्यहाँ फरक मात्रै भएन, पूरै उल्टो भयो । खरानी भयो लगानी, मिहिनेत र आशा । मरीचका लहराहरू गले । लगभग तीन–चार सय नरिवलका दानाहरूबाट बिरलै केही नरिवल टुँसाए । समग्रमा हामीलाई ती आठ–दस थान टुँसाएका नरिवलका बोट बेच्नसमेत हम्मेहम्मे पर्‍यो । छिमेकीलाई किनिदिन आग्रह गर्नुपर्‍यो । कफी ? कफी टुँसाउँछ कि टुँसाउँदैन, विचार नै गर्नुभएन बाले । बाको मानसिकता मरीच गलेजस्तै गल्यो वा नरिवल नटुँसाएझैँ टुँसाएन । त्यो दुई बोरा कफीले धेरै महिनासम्म घरको कुनो रोजिरहे । अन्ततः हामीले त्यो सब नहरमा बगाइदियौँ । बाको अद्भुत आइडिया नहरमै बग्यो कफीसँगै । फेरि पनि बाको कुरा उस्तै थियो, ‘ह्या, केही गरिहाल्छु नि, पख् न पख् ।’
हामी फेरी उसैगरी आशाले भरियौं, आमाझैं ढुक्क भयौं ।
नयाँ नै गर्ने सोचका दुई कारण थिए बासँग । पहिलो व्यापारलाई प्रतिस्पर्धारहित बनाउनु ! अनि दोस्रो, छोटो समयमै बढी कमाउने अपेक्षा राख्नु ! तिनमा एउटै कुरा पनि व्यापारमा सम्भवप्रायः हुँदैन । भए पनि त्यसको दीर्घकाल रहँदैन । खैर, बाले पुनः बिल्कुल नौलो योजना सोच्नुभयो, चार–पाँच महिनाको ग्यापमा । त्यो पनि अनौठो खालको थियो, ‘सोझै चाइनाबाट सामान ल्याएर टीकापुरमा बेच्ने ।’ त्योबेला टीकापुरमा खासाबाट सोझै सामान ल्याउनु निकै दूरको कुरा थियो ।
त्यो काम पाटनरसिपमा हुने भयो । त्यही कामका लागि बा चाइना लाग्नुभो । तराईका हामीलाई भारत जानु सामान्य थियो तर चाइना... ? मलाई निकै नै अद्भुत महसुस भयो त्यो समय । म धेरैपटक मख्ख परें, ‘ओहो, बा चाइना पुगेर माल ल्याउनुहुन्छ अब ।’ त्यो पुराना व्यापारहरूभन्दा 
खास लाग्यो ।
नभन्दै खासाबाट लत्ता–कपडा ल्याइए । कैयौँ कपडामा चाइनिज अक्षरहरू कुदिएका हुन्थे । एक थान चाइनिज लिपिमा लेखिएको टिसर्ट मैले हडपेँ । र, केही वर्षसम्मै लगाएँ । सेतो टि–सर्टमा कुँदिएका राता अक्षर हेरेर म धेरैपटक मख्ख पर्थें । यद्यपि त्यो लेखाइ बुझ्न सम्भव थिएन । साँच्चै के लेखेको थियो होला, बेबकुफ... खतरा... वा बुद्धिमान ?
जहाँसम्म व्यापारको सवाल छ, त्यो सजिलै भयो । तर, पूरै माल बिक्री हुन केही समय लाग्यो । त्योबीचमा भएको कमाइ ऋण तिर्न र घरखर्चमै सकियो । संयोगवश पार्टनर पहाडतिर लागे । अनि, बा एक्लै खासा उक्लनुभएन कहिल्यै ।
केही गर्ने उमेर बाँकी नै थियो । परिवारका लागि केही गर्नु जरुरी पनि थियो । केही नयाँ गर्ने सोचसमेत बदलिएको थिएन, ‘केही नयाँ गरिहाल्छु नि !’
फेरि नयाँ उपाय सोच्न बालाई त्यस्तै चार–पाँच महिना लाग्यो । त्यो योजना पनि भिन्नै खालको थियो । प्रत्येक पटकझैं बाको सपना र हिसाब गज्जबको हुन्थ्यो, ‘यहाँका मानिसलाई डुनोट के हो था’छैन । टीकापुरमै डुनोट बनाउँछु । पूरै बजारमा सप्लाई गर्छु । पाउरोटीको बजार डुनोटले सुकाइदिन्छ ।’
साँच्चै त्यसबेलासम्म मैले डुनोट तस्बिरमा समेत देखेको थिइनँ । डुनोट कस्तो हुन्छ, थाहा नभएको परिवारमा पुनः एक किसिमको आशा जाग्यो । जब कुनै विकल्प हुँदैनन्, सम्भावनाको अंशले समेत ठूलै आशा दिन्छ । र, हिम्मत जुटाउँछ । त्यसैले सबैले आशा गर्‍यौं, ‘पहिलेका व्यापारभन्दा त्यो व्यापार पक्कै चल्नेछ ।’
ऋण थपियो । बा काठमाडौं पुग्नुभयो । त्यहाँबाट बेकरी आइटम बनाउने थरीथरी किसिम र साइजका साँचाहरू ल्याउनुभो । साथमा ल्याइए डुनोट फुलाउने केमिकल ‘इस्ट’ का चक्कीहरू । अनि थियो एउटा किताब जुन डुनोट, सेल, लालमोहन, रसबरी, केक आदिबारे थियो । त्यो किताब रेसिपी बनाउने किताब कम, कथाको किताब ज्यादा लाग्थ्यो । बडो रोचक ढंगका कथा थिए त्यसमा । जस्तो— सेल र डुनोटको संवाद, रसबरी र लालमोहनको झगडा । जाम र जेरीको खिचातानी आदि । र, कथा सकिँदासम्म बनाउने तरिका, फाइदा–बेफाइदा । स्वाद र स्वरूपको बयान भइसक्थ्यो । त्यो किताब पढ्न मलाई निकै रमाइलो लाग्यो । बाले पढ्न सुरु गर्नुपहिल्यै मैले पढी भ्याएँ ।
त्यो किताब बाले बिस्तारै पढ्नुभो । किताब पढिनसक्दै ‘इस्ट’ छेउकुना हुँदै कुहिन सुरु भो । काम थालौं भन्दाभन्दै ‘इस्ट’ कुहिएर ‘गु’ जस्तो गन्हाउन थाल्यो । पूरै घरभरि गन्ध फैलिएपछि ‘इस्ट’ नजिकैको नहरमा बगाइदियौँ, जहाँ हामीले पहिल्यै कफी बगाएका थियौं । टीकापुरमा इस्ट पाउन सम्भव थिएन । न त बा इस्ट ल्याउन काठमाडौं पुग्न नै सम्भव थियो । बरु, बेकरीका भाँडाहरू थन्किए । सुरु नहुँदै काम तुहियो ।
यो सिलसिला निकै लामो छ । कैयौं थालिएका काम तीन–चार महिनाभन्दा बढी चल्नै सकेनन् । ढुङ्ग्री फुराउने कारखाना, चार महिना । दूध–डेरी पसल चार महिना । जग्गा बेच्ने एजेन्टको प्रयास, आधा दिन । यस्ता अनेकन प्रयास चले । कागजमा योजना र मुनाफाको अंक जोडिए थुप्रैपटक । र, सुचारु नहुँदै सेलाए यत्तिकै । बाले भन्न छोड्नुभएन, ‘ह्या केही नयाँ गरिहाल्छु । पख न पख ।’ अरू आशा र भरोसा पनि त थिएन । सायद त्यसैले, हामी ढुक्क हुन छोडेनौं ।
बाको अस्थिरता सम्झेर म धेरै वर्षसम्म हाँसें, बासँग जिस्किएँ कैयौंपटक । ठानेको थिएँ, बासँग स्थिर रहने क्षमता छैन । मलाई यो बुझ्न समय लाग्यो, घाइते मन बोकेको मान्छे, घाइते प्राणी छटपटाएझैं छटपटाउँछ । ऊ उचित सोच्न सक्दैन । उचित गर्न सक्दैन । बाको मन घाइते भएरै उहाँमा धैर्य जमिरहेको थिएन । तालमेल हराएको थियो । उहाँ भूतसँगको पछुतोमा, वर्तमानको अन्योल र भविष्यको अन्धकारबीच पिल्सिनुभएको थियो । तीनवटै समय उहाँको पक्षमा थिएनन् । त्यस्तो परिस्थितिमा मान्छे आत्तिनु अस्वाभाविक होइन । आत्तिनु स्वाभाविक किन पनि थियो भने समयले अँध्यारोमा अँध्यारो थपिरहेको थियो दिन प्रतिदिन ।
बा त्यसरी व्यापक आत्तिएपछिको परिणाम थियो, उहाँको बम्बै पस्ने निर्णय । त्यो प्रयाससमेत सफल नभए उहाँले कुनै पनि काम गर्नुहुनेछैन, सबैले जानिसकेका थिए भित्रभित्रै ।
समयले पिट्दैपिट्दै मानिसलाई चाहेको आकारमा ल्याइदिन्छ । निहुराइदिन्छ, जमिन छोइने गरी, तन्काइदिन्छ आकाश होचिने गरी, धार लगाइदिन्छ वा भुत्तो बनाइदिन्छ । मान्छे पुराना महफिल वा वियोग बिर्सिदिन्छ, बिर्सिनुपर्ने खालको बनाइदिन्छ । त्यसैले बाले जसरी आमाले पनि बिर्सिनुपर्‍यो, पुरानो सुन्दर जिन्दगी । दुई दशकसम्मको व्यथित सम्मानजनक पेसा । अन्ततः आमाको अनुहारमा बा बम्बै जाँदै गर्दा आशाका धर्साहरू कोरिए । हाम्रा माग थपिएपछि केही दिनसम्म त आमाले सजिलैसँग भन्नुभयो, ‘तेरो बुबाले पैसा पठाएपछि किनौंला ।’
पीसीओ बुथबाट थाहा हुन्थ्यो— बाको खबर । उहाँले काम थालेको पनि पीसीओबाटै थाहा भयो । बा कुनै सानदार घरको गेटमा चौकीदार हुनुभएको खबर सुन्दा रत्तिभर दुःख लागेन । बरु हामी कहिले बाको एक महिना पुग्ला भनेर पर्खिन थाल्यौं । आवश्यक चीजलाई पेन्डिङमा राख्दै गयौँ । तर, बाको पगार (तलब) आएन । पगार आउने समयअगावै स्वयं बा आइपुग्नुभो । त्यो हामी सबैका लागि अनपेक्षित झट्का थियो ।
बाको स्वरूप फेरिएको थियो । आँखा त्रसित देखिन्थे । त्यति डरपोक आँखाहरू त्यसअघि मैले कहिल्यै देखेको थिइनँ/छैन । उहाँले आमालाई समेत हेर्नुभएन ध्यानसँग । फेरि पनि बाको ओठे मुस्कान अनुहारको निराशता टाल्न खोज्थ्यो । कालो बादलमा लुकामारी गरिरहेको जूनजस्तै बाको अनुहार उज्यालिन्थ्यो–अँध्यारिन्थ्यो । थोरथोरै पलपल ।
हजुरआमाले निकै नै चिन्तित मुद्रामा प्रेमपूर्वक सोध्नुभो, ‘क्या भयो लाटा ?’
अहँ, बा बोल्नुभएन खासै, ‘ठीकै छ । केई भ्या छैन ।’
मलाई बाको आवाज पनि फेरिएको भान भयो । अहिले सम्झँदा अनुमान गर्छु, पीडाले थिचिएको स्वर कहाँ प्रफुल्ल हुन्थ्यो ! त्यो दिन उहाँले सुरुमै नुहाउनुभो अनि खाना खानुभो । मैले निकै सूक्ष्म ढंगले बालाई नियालिरहेँ– अनौठो मानेर । कताकता बाको भेषमा कोही अरू नै पो आएको हो कि ठान्यो मनले । सूक्ष्म ढंगले नियाल्दा आफैँमाथि पनि त शंका लाग्न सक्छ, अहिले आएर पो थाहा भयो । बाले मलाई आफूनजिक बोलाउँदासमेत म कछुवासरी सरेँ । उहाँले काखीमा राखेर दुवै पाखुराले च्याप्दासमेत अजिब शंका उब्जिइरहे मनमा । मलाई त्यो सोच कहाँबाट आयो ? किन एक छोराले बाको काख पनि सुरक्षित मानेन ? खैर, यो कुरा कुनै दिन व्याख्या गरौंला ।
बा पुरानै लयमा फर्किन केही दिन लाग्यो । केही दिनमै बाले भारतबाट फर्किनुको कारण खोल्नुभो, ‘छोरा बराबरका केटाहरू ‘तूँ’ भनेर आदेश दिन्छन् त्यहाँ । त्यस्ता हजारौं बच्चा पढाएको सम्झिएरै सहन गाह्रो भो ।’ उहाँको अर्को पनि विचार थियो, ‘सरकारी जागिर त छाडेँ । त्यो जाबो चौकीदारी के हो र ? केही न केही गरिहाल्छु, पख ।’
त्यो समय मलाई बाको कुरा वाइयात लाग्यो । उहाँसँगै बस्न पाइने कुराले पनि खुसी लागेन । बरु आफ्ना आवश्यकता पूरा नहुने भएर दुःख लाग्यो । केही गरिहाल्छु भनेको सुन्दा एक किसिमको आशासमेत जुर्मुरायो । तर, शंकासहितको आशा थियो त्यो ।

बा भारतबाट फर्किनु आजभोलि स्वाभाविक लाग्छ । बाईस वर्षसम्म प्रेम र सम्मानबीच हुर्किएको मानिसमा स्वाभिमान ठडिनु अनौठो विषय होइन । म बालाई यसो हेर्छु, पन्ध्र–बीस दिन कुनै घरमा चौकीदार भएर टिक्न सक्नुको कारण खोज्छु । पक्कै छोराहरूको भविष्यको चुनौती र परिवारको दुःखले दबाएको थियो उहाँलाई । तर, विद्यार्थीसमान बच्चाहरूको ‘ता’ सम्वोधनले उहाँले दबाईराखेको अहम्लाई पुनः ब्युँतायो । उसो त म सबै कामको सम्मान गर्छु— यद्यपि कार्यक्षेत्र, सक्षमता र अनुभवले मानिसमा केही विशेष मनोवृत्ति पैदा भएका हुन्छन् ।
भारतबाट फर्किसकेको केही महिनापछि उहाँले नयाँ योजना सुनाउँनुभो, ‘जग्गा लिजमा लिएर आलु खेती गर्छु ।’
हामी सबै हाँस्यौं । पहिलेझैं ढुक्क भएनौं हामी । न त बाको भरोसा गर्‍यौं । किनकि दाइले एसएलसी पास गरिसकेको थियो । र, कमाउन थालिसकेको थियो । केही नहुँदा पो रातको सपनासँग पनि आस लाग्छ । जूनकीरीसँग पनि आगोको अपेक्षा गरिन्छ ।

विवेक ओझा

कोसेली

माओसँग आमने–सामने

- शिशिर वैद्य

 

थुप्रै पुस्तकले भरिएको भण्डारजस्तो देखिने एउटा बेनाम पुस्तकालय । अव्यवस्थित र छरपस्ट पुस्तकहरू । केही पुस्तक र्‍याकमा ठडिएका छन् तर पुस्तक क्रम, संकेत चिह्न केही छैनन् । अघिल्लो दिन देखेका पुस्तक हराइरहेका छन् । पुराना पुस्तकका गाता च्यातिन थालेका छन् । पत्रिकाका अक्षर खुइलिरहेका छन् । कति पुस्तकका बाइन्डिङ खुस्किएर दुई–तीन टुक्रा भएका छन् । तिनै छरपस्ट पुस्तकको भीडमा भेटिएको थियो— बाले लेखेको एउटा सानो पुस्तिका । शीर्षक थियो, ‘विश्व–क्रान्तिका महान् शिक्षक अध्यक्ष माओ ः आमने–सामने’, लेखक– निरञ्जनगोविन्द वैद्य । सन् १९८४ मा पटनाबाट प्रकाशित जनपक्षीय पत्रिका ‘संस्कृति और कथान्तर’ ले छापेको थियो, चिनिया क्रान्तिका महानायक माओत्से तुङसँग बाले भेटेको संस्मरण । त्यही साल छापिएको रहेछ, त्यो सानो पुस्तिका ।
सन् १९६०, ७ नोभेम्बरका दिन बा मस्को पुगेका थिए, सोभियत संघको ट्रेड युनियनको निमन्त्रणामा । सोभियत ट्रेड युनियन कंग्रेसको दुई हप्ताको आतिथ्यपछि उत्तर कोरिया हुँदै अखिल चीन ट्रेड युनियन फेडेरेसनको निमन्त्रणामा उनी चीन पुगे । जीवनको अविस्मरणीय भ्रमणमा उनले विश्वका विशिष्ट नेताहरूसँग भेट्न पाए । तीमध्ये थिए— चिनियाँ क्रान्तिका महानायक माओत्से तुङ र उत्तर कोरियाका सुप्रिम कमान्डर किम इल सुङ । तत्कालीन जननिर्वाचित सरकारले उनलाई यो भ्रमणमा जान रोक्ने व्यापक प्रयास गरेको थियो । बा बेला–बेला सुनाउनुहुन्थ्यो हामीलाई यसबारे । ‘वैद्यलाई पासपोर्ट नदिनू,’ ठाडो आदेश थियो सरकारको । स्मृतितिर पस्दै बा भन्थे, ‘अनेक ढोका चहारेपछि बल्ल फुकुवा भएको थियो पासपोर्ट ।’
तर त्यही साल र त्यही महिना पार्टी–महासचिव केशरजंग रायमाझी, कमर शाह, हिक्मतसिंह भण्डारी, कृष्णराज वर्मा र शम्भुराम श्रेष्ठ सम्मिलित प्रतिनिधिमण्डल सोभियत संघको भ्रमणमा थियो । नोभेम्बर महिनाको पहिलो सातादेखि मस्कोमा सुरु हुने विश्वका ८१ राष्ट्रका कम्युनिस्ट तथा मजदुर पार्टीको सम्मेलनमा सहभागी हुन सो प्रतिनिधिमण्डल मस्को पुगेको थियो । यसअघि सन् १९६० अक्टोबर महिनाको अन्तिम साता नेपाल कम्युनिस्ट पार्टीको नाममा सोभियत संघको कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटिले सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा पठाएको थियो । आमन्त्रणबारे निर्णय गर्न पार्टीको केन्द्रीय कमिटीको बैठक बसेर महासचिव रायमाझीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय भएको थियो ।
२ डिसेम्बर १९६० मा बा बेइजिङ विमानस्थल ओर्लिए । ओर्लिएलगत्तै उनले फेडेरेसनका साथीहरूलाई माओसँग भेट्ने इच्छा व्यक्त गरेका थिए । ‘चीन पुगेर अध्यक्ष माओसँग भेट्न पाइएन भने त मेरो भ्रमण असफलजस्तै हुन्छ नि,’ फेडेरेसनका साथीसामु ढिपी कसेका थिए उनले । तर, फेडेरेसनका साथीहरू कसैलाई पनि अध्यक्ष माओ कहाँ छन् भन्ने अत्तोपत्तो थिएन । तर, उनीहरूले सम्बन्धित अधिकारीसम्म बाको हार्दिक इच्छा पुर्‍याउने आश्वासन दिए ।
फेडेरेसनको कार्यक्रम एक हप्ता चल्यो । त्यसपछि चिनियाँ क्रान्तिमा ऐतिहासिक महत्त्व बोक्ने सहरहरू घुमघाम । भ्रमण अन्तिम प्रहरमा थियो । उनी ट्रेड युनियनका अध्यक्ष र वन विभागका मजदुर युनियनका अध्यक्षसँग बसेर कुराकानी गरिरहेका थिए । फोनमा कसैले ट्रेड युनियन अध्यक्षलाई तुरुन्त आउनू भन्ने सन्देश दिए । त्यसको केही क्षणपछि फोनको घण्टी फेरि बज्यो । सँगै रहेका उपाध्यक्षले फोन उठाए । फोनमा कुरा गरिसकेपछि उपाध्यक्षले हर्षित मुद्रामा भने, ‘हाम्रो केन्द्रीय समितिका एक प्रमुख नेताले तपाईंसँग भेट्ने चाहना गर्नुभएको छ, जाऊँ ।’ कसलाई भेट्न जाने भन्ने जानकारीबिनै उपस्थित सबै त्यहाँबाट हिँडेका थिए । माओसँगको आफ्नो भेटबारे स्मरण गर्दै बाले लेखेका छन्(, ‘डिसेम्बरको महिना, पेकिङ हिउँले ढपक्क छोपेको थियो । हिमपातले सहर पूरै सेतो देखिएको थियो । हाम्रो गाडी बिस्तारै एक विशाल क्याम्पभित्र प्रवेश गर्‍यो । एउटा प्राचीन पाराको अजंगको ढोकाअगाडि पुगेर गाडी रोकियो । ढोका अघिल्तिर दुई सुरक्षाकर्मी देवदारको वृक्षझैं हलचलबिना उभिइरहेका थिए । हामी एक भव्य हलमा प्रवेश गर्‍र्यौं । हलको वातावरण चकमन्न थियो तर सुन्दरता वर्णन गरिसाध्यै थिएन । केही क्षण पहिले हामीसँग छुट्टिएका ट्रेड युनियनका अध्यक्ष हलको एकछेउमा थिए । उनी देखेर म दंग परें । मलाई हेरेर मुस्कुराउँदै उनले कुर्सीमा बस्न संकेत गरे । दुई–तीन मिनेटपछि एक जना कमरेडले आएर मेरो कानमा सुटुक्क भने— अध्यक्ष माओ आउँदै हुनुहुन्छ । ती शब्द सुन्नेबित्तिकै मेरो मनमस्तिष्क रोमाञ्चित भयो । शरीरमा एक प्रकारको कम्पन महसुस भयो । हंसले काम नगरेजस्तो भयो । हलको पूर्वतर्फको कोठाबाट प्रवेश गर्दै गरेका अध्यक्ष माओलाई देखेर मेरो मुटुको चाल अचानक बढ्न थाल्यो । हँसिलो मुहार, हृष्टपुष्ट शरीर, अग्लो कद । अध्यक्ष माओसँग भेट्ने उत्कट चाहनाले मूर्तरूप पाइरहँदा म भने मूर्तितुल्य बनेको थिएँ । माओ नजिक आइपुगेर हात मिलाउँदै मलाई हेरेर मुस्कुराइरहँदा मेरो शरीर, मुटुदेखि नै चिसो बनेको थियो । मस्तिष्क शून्य बनेको थियो । शून्यतामा हराएको त्यो क्षणमा मैले अध्यक्ष माओसँग मिलाउँदै गरेको हात छोड्नै बिर्सेछु । मलाई सँगैको कुर्सीमा बस्न आग्रह गर्दै माओ कुर्सीमा बसे ।’
सोभियत संघमा ट्रेड युनियन कंग्रेसको सम्मेलनमा भाग लिएर चीन पुगेका बासँग माओको पहिलो प्रश्न थियो— सोभियत संघ भ्रमणको सफलताका विषयमा । नेपालका मजदुर–किसान र अन्य श्रमजीवी जनताबारे माओ निकै जिज्ञासु भएर प्रश्न गरिरहेका थिए भने बा एक असल कार्यकर्ताका रूपमा जवाफ दिइरहेका थिए । वार्ताकै दौरान माओले अचानक उनलाई सोधे, ‘तपाईंले चीनमा के–के देख्नुभयो, अनि कस्तो लाग्यो चीन यहाँलाई ?’ बाको जवाफ थियो, ‘चीन एक विशाल देश हो, चार–पाँच दिनको भ्रमणमा सबै कुरा हेर्न र बुझ्न सम्भव कहाँ छ र ? तर, म जहाँ जहाँ पुगें, चीनको प्रगति देखेर निकै प्रभावित भएको छु ।’ बाको उत्तर सुनेर माओले मुस्कुराउँदै भनेका थिए, ‘पक्कै पनि हाम्रा कामरेडहरूले तपाईंलाई राम्रो–राम्रो ठाउँ मात्रै घुमाए होलान्, त्यसैले तपाईं यसो भन्दै हुन्छ । तर, तपाईंले देखेको चीन र वास्तविक चीन फरक छ । थुप्रै कमजोरी र समस्या छन् यहाँ । चीनलाई विकसित बनाउन हामीलाई अझै निकै मिहिनेत गर्नु छ । हामी यसका लागि दृढ भएर लागिरहेका छौं ।’
िि
िनेपालमा प्रजातान्त्र स्थापनाका लागि भएको आन्दोलनदेखि किसान आन्दोलन, मजदुर आन्दोलन, कम्युनिस्ट पार्टी स्थापना, कम्युनिस्ट आन्दोलनलगायत विविध विषयमा माओसँग लामो छलफल चल्यो— संस्मरणमा उल्लेख छ । माओले पनि चिनियाँ क्रान्तिको उद्गमदेखि विजयसम्मका प्रमुख घटना संक्षेपमा उनलाई सुनाए । क्रान्तिलाई विजयसम्म पुर्‍याउन दुई पृथक् दुश्मनसँग जुध्नुपरेको बताउँदै माओलाई उद्धृत गर्दर् ैबाले लेखेका छन्, ‘एकातर्फ जापानी साम्राज्यवादी फौजको आक्रमण र दमन व्यापक हुँदै थियो भने अर्कोतर्फ देशभित्रै देशद्रोहीहरूको बिगबिगी बढ्दै गएको थियो । विदेशी फौजसँग लड्नुपर्ने अप्ठ्यारो समयमा देशभक्त कम्युनिस्ट कार्यकर्ताहरू देशद्रोहीहरूको विभिन्न जालझेलसँग जुध्न बाध्य भइरहेका थिए । एकदमै खतरनाक र जटिल अवस्थाको सामना गर्दै हामीले क्रान्तिदेखि विजयसम्मको लामो अभियान पार गर्‍यौं । यसमा चिनियाँ कम्युनिस्ट पार्टीका सबै कार्यकर्ताको असाधारण त्याग र अपूर्व बलिदान रहेको छ ।’
कुराकानीकै क्रममा बाले माओलाई भनेका थिए, ‘मार्क्स, ऐंगेल्स, लेनिन र स्तालीन हामीबीच छैनन् । तर, आज यहाँसँग भेटेर चिनियाँ क्रान्तिका विषयमा प्रत्यक्ष सुन्न पाउँदा र कुरा गर्न पाउँदा आफूलाई निकै भाग्यशाली महसुस गरिरहेको छु । कम्युनिस्ट आन्दोलनमा दृढ भएर लाग्न तपाईंसँगको भेटले मलाई अझ उक्साएको छ ।’ माओको जवाफ थियो((, ‘मार्क्स, ऐंगेल्स, लेनिन र स्टालिनका म पनि एक साधारण शिष्य मात्रै हुँ । सोभियत संघसँग हाम्रा केही सैद्धान्तिक मतभेद छन्, तर ती चाँडै नै निर्मूल हुनेमा म पूर्ण आशावादी छु ।’
नेपाल कम्युनिस्ट पार्टीका जनरल सेक्रेटरीलाई आफ्नो लालसलाम सुनाइदिने आग्रहसहित माओले फेरि कुनै अवसरमा भेट्ने बताउँदै कुराकानी टुंग्याए । दुईबीचको सुमधुर छलफलले माओको व्यस्त समयको एक घण्टा खाइसकेको थियो । समय लामै बितेको संकेत गर्न बेलाबेला सहायकहरू आउँथे । तर, माओ इसाराले पख भन्थे । भेटघाट टुँग्याउँदै माओले ढोकासम्म पुर्‍याउन आएको क्षण सम्झिँदा मनमा एक प्रकारको हलचल भएको उल्लेख गरेका छन् बाले ।
सोभियत संघ र चीनको भ्रमण सकेर स्वदेश फर्कन नयाँ दिल्ली विमानस्थलमा ओर्लिंदा देशको परिस्थिति बदलिइसकेको थियो । पुस १ को घटनाले राणाहरूसँग ज्यानको बाजी थापेर ल्याएको प्रजातन्त्र फेरि राजाको हातमा पुगिसकेको थियो । कांग्रेस र कम्युनिस्ट पार्टीका थुप्र्रै साथी गिरफ्तार भएका थिए भने कोही भूमिगत भइसकेका थिए । देशमा सैनिक शासन सुरु भइसकेको थियो । भारतसँग सीमा जोडिएका क्षेत्रहरूबाट सबै पार्टीका नेता कार्यकर्ताहरू भारततर्फ पलायन भइरहेका थिए । पार्टीहरू प्रतिबन्धित गरिएको थियो । मुलुकमा गम्भीर स्थिति खडा भएको थियो ।

Page 21
कोसेली

अनि मैले स्कुल छाडेँ

 

घरका चारै भित्तामा कलेजी रङ पोतिएको थियो । परम्परागत बुट्टेदार हरिया झ्याल भएको तीनतले घरमा ढलाने कौसी र अग्ला–अग्ला ढलाने पिँढी थियो । वरिपरि खासै घर बनेका थिएनन् । करिब चार/पाँच मिनेट हिँडेर पुगिने दूरीमा पुराना शैलीका घर देख्न सकिन्थ्यो । अन्य घरको तुलनामा मेरो घर निकै सजिएको र राम्रो थियो । कहिलेकाहीँ मानिसहरू मेरो घरलाई लज भनेर झुक्किन्थे र बस्न मिल्छ कि भनेर सोध्न आउँथे । लज होइन घर हो भन्ने थाहा पाएर आफैँ अप्ठ्यारो मानेर फर्किन्थे । र, त्यतिखेर मचाहिँ मेरो घरपरिवार देखेर साँच्चै गर्वको महसुस गर्थें ।
यो त्यतिखेरको कुरा हो, जतिखेर मलाई थाहा थिएन— समाज कसरी बनेको छ, समाज कुनकुन अवयव मिलेर बन्छ । म मेरो घरको हरियो झ्यालमा बसेर धुलिखेलको सुन्दरता नियालिरहेको हुन्थेँ । त्यतिखेर सबै राम्रा लाग्थे । त्यहाँबाट देखिने सेता हिमाल र हरिया पहाड देखेर मोहित हुन्थेँ । खासाबाट काठमाडौंका लागि हुइँकिएर आउने बसका धोद्रो आवाजले म घरीघरी झस्किन्थेँ । गाडी चल्नु भनेको जिन्दगी चल्नुजस्तै लाग्थ्यो मलाई ।
मसँगै स्कुल जाने मेरा समुदायका दाइ–दिदीले स्कुल छाडिसकेका थिए । कारण थियो— सामाजिक, राजनीतिक र बौद्धिक चेतनाको कमी । कमजोर आर्थिक स्थिति भएका मेरा छरछिमेकीले आफ्ना छोराछोरीलाई पढाउने हेइन, काममा लगाउन थालिसकेका थिए । मलाई भने मेरी आमाले पढ्नुपर्छ भनेर हौसला दिन्थिन् । र, म पनि हौसिएर स्कुल जान थालेकी थिएँ ।
भक्तेश्वर प्राविमा तीन वर्ष पढेपछि म बोर्डिङ स्कुल भर्ना भएँ । ५ कक्षामा पढ्दै गर्दा एक दिन पानी पिउन स्कुलको धारामा गएकी थिएँ । मेरो कक्षाको एउटा केटाले पालो मिचेर पानी पिउन खोज्दा मैले त्यसको प्रतिवाद गर्न पुगेछु । उसले मलाई निकै गाली गर्‍यो, घचेट्यो र भुइँमा लडाइदियो । मलाई खासै दुखेको थिएन, तर उसले जसरी गाली गर्‍यो, त्यसले चाहिँ साँच्चै दुखायो । ‘मैले पिउने पानी नछो, तँ सानो जातकी होस्’ भनेर जुन छुद्र बोली उसले बोल्यो, त्यसको बदलामा म केवल मौन रहेँ । त्यो दिन मेरो जिन्दगीको एउटा ठूलो पुस्तक बन्यो । मैले आफू बाँचेको समाज र समाजमा हुने गरेका विभेद पढ्न पाएकी थिएँ । धारामा छुट्टै पानी थाप् भनेको, पसलभित्र छिर्न नदिएको, साथीहरू सबै एकअर्काको घरमा जाँदा मलाई नबोलाउनुको कारण बिस्तारै–बिस्तारै बुझ्न थालेकी थिएँ । पहिला किन त्यसो भन्थे मलाई थाहा थिएन । म भित्रभित्रै खुम्चिएँ । मान्छे भएर मान्छेजस्तो नगनिनुमा निकै पीडाबोध भयो । पहिले मलाई जे–जे कुरा राम्रो लाग्थ्यो, अब ती सबै नराम्रो लाग्न थालिसकेको थियो । मलाई यति गाह्रो भयो कि मैले, त्यही वर्ष त्यो स्कुल छोडिदिएँ । र, सरकारी स्कुल सञ्जीवनी माविमा कक्षा ७ मा भर्ना भएर पढ्न थालेँ ।
दलित परिवारमा जन्मेका बच्चाको अवस्था चित्रण गर्न खासै गाह्रो थिएन त्यतिबेला । गरिबी, विपन्नता व्याप्त थियो । परिवार शिक्षित थिएन । पुर्खादेखि गरिआएको त हो नि भनेर जाँड–रक्सी पिएर मात्तिने, अनि कमै मात्र काम गर्ने मेरो वरिपरिका मान्छेका दिनचर्या थियो । गैरदलितले हाम्रो ठाउँमा जग्गा किन्ने चलन बढ्दै जाँदा थोरै पैसामा लोभिएर दलितहरूले जग्गा बेच्न थालेका थिए । किनकि उनीहरूले गरिबीको कारण जग्गा बेचेर पैसा कुम्ल्याउनु र त्यसबाट रक्सी पिउनुमा आफ्नो अहोभाग्य ठाने । त्यसमध्ये मेरा आफ्नै बुबा पनि पर्थे । घरको स्थिति पहिलाको जस्तो सुन्दर रहेन । बाल्यकालमा पाएको सुविधा घट्दै गए र दुःखहरू बढ्न थाले । एकातिर जातीयताले निम्त्याएको सामाजिक पीडा, अर्कोतिर गरिबी र अपहेलना, जिन्दगी धेरै नै असहज महसुस हुन्थ्यो मलाई । किन जन्मेछु भन्ने प्रश्न आउँथ्यो मनमा ।
मेरै आँखाअघि धेरै दलित परिवार बिस्तारै जमिनविहीन बन्दै गए । मेरै परिवारको पनि करिब ५ आना जग्गा गैरदलितले अतिक्रमण गरे । पचासौं वर्षदेखि हिँडिरहेको बाटोमा समेत बार लगाए । मेरो परिवारमा यसबारे के गर्ने कसैलाई जानकारी थिएन । कहाँ जाने, के भन्ने, आफ्नो गल्ती हो कि अरूको गल्ती हो, बोल्न मिल्ने हो या नमिल्ने हो, अन्योल र मौनता वर्षौंसम्म साँचिरहे । म बुझ्ने भएपछि यो समस्याबारे कुरा राख्दा गैरदलितले गालीगलौज मात्र गरेनन्, धम्कीको भाषा बोले । न्याय दूर आकाशको तारा भयो, जसलाई कल्पनामा मात्र छुन सकिन्छ ।
दलितहरूलाई जंगबहादुर राणाले १९१० को मुलुकी ऐन बनाएर च्यापे । त्यसको आडमा बसेर समाजले उनीहरूलाई तल्लो स्तरमा राख्दै थिच्दै गयो । यसरी थिच्यो कि उनीहरू उँभो लाग्नुको साटो झन्–झन् दबिँदै गए । उनीहरूको सम्मान मिचियो, उनीहरूसँग भएको जमिन मिचियो । मिचिएको जग्गा कि त कम पैसामा बेच्न पर्‍यो कि छोड्नुपर्‍यो । अशिक्षा थियो, आफ्नो अधिकार थाहा थिएन । संस्कारको नाममा पिउने रक्सीले स्थिति खस्कँदो थियो । परम्परागत काम छोडिसकेका उनीहरू धेरैजसो ज्यालादारी मजदुरी गर्थे । बालबच्चाको स्थिति कमजोर थियो । असमानता, हेला, विभेद मेरा आँखावरपर नाच्थे र मेरो मनलाई शिथिल बनाउँथे । कसैले बताउँदैनथिए, आखिर के भइरहेको छ ।
२०६३ साल, जतिखेर म स्कुले जीवन सकेर कलेज पढ्दै थिएँ, त्यतिबेला मैले रेडियोलाई कर्मथलो बनाएँ । काम गर्न थालेँ— रेडियो एबीसी बनेपामा । समानताको वकालत गर्ने कार्यक्रम ‘दलित आवाज’ पनि चलाएँ । त्यही समयमा म प्रभातफेरि नामक काभ्रेको साप्ताहिक पत्रिकामा पनि काम गर्थें, जसले दलित सवालमा प्रशस्त समाचार लेख्ने ठाउँ दियो ।
२०६५ सालतिर काभ्रेको बतासे भन्ने गाउँमा ८ वर्षीया सानी नानीलाई छुवाछूत गरियो । करिब ४० वर्षीया महिलाले धारोमा गाईबस्तुले पानी पिउने भाँडा छोएको निहुँमा घाइते हुने गरी बालिकालाई कुटिन् । पत्रकार भएको नाताले मलगायत अन्य दलित अधिकारकर्मी पनि घटनास्थल पुग्यौं । छुवाछूत गर्ने महिलासँग कुरा बुझ्दा ‘दलित भएर हाम्रा भाँडा छुनेलाई पिटिन्छ’ भन्दै उनी जंगिइन् । मानौं, दलित भनेको मान्छे होइनन् र उनीहरूलाई पिट्न, गाली गर्न सबै छुट छ π पत्रकारहरूले उनले भनेको यो वाक्य भिडियो रेकर्ड गरेका थिए ।
उक्त भिडियोलाई प्रमाणको रूपमा प्रयोग गर्दै, हामीले पीडकविरुद्ध धुलिखेल प्रहरी चौकीमा उजुरी दिन ती बालिकाको परिवारलाई झक्झकायौं । उजुरी परेपछि ती बालिका र तिनको बुबामाथि उजुरी फिर्ता गर भनेर धम्क्याइयो । त्यही कारण गाउँमा बस्न नसकेर नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको कोठामा बसे बालिका र उनका बुबा–बुबा । अन्ततः धेरै दोधारका बाबजुद पनि ती बालिकाको बाबुले छोरीलाई न्याय दिलाउने साहस निकाल्ने प्रण गरे । उनीहरूले उजुरी फिर्ता लिँदै लिएनन् ।
उजुरी दिएको भोलिपल्ट करिब बिहान ९ बजेतिर पीडक महिलालाई प्रहरीले चौकीमा उपस्थित गराए । ८ वर्षीया बालिकाको शरीरमा चोट लागेको थियो । उनलाई ज्वरो आएको थियो । पीडक महिलालाई सजाय दिनु हुँदैन भन्दै लगभग २०० को हाराहारीमा आए गाउँलेहरू । सजाय दिएको भए ती महिला कम्तीमा तीन वर्ष जेल बस्नुपर्थ्यो । बालिकाको पक्षमा कोही गाउँले पनि कोही बोलेनन् । उनीहरूले हामी चार–पाँच जना दलित अधिकारकर्मीलाई प्रहरी चौकीमा घेरेर थर्काए । पीडितलाई न्याय दिनुपर्छ भनेर पैरवी गरिरहेका हामीलाई चौकीको इन्स्पेक्टरले प्रहरी चौकीमै बसेर ‘तिमीहरू डलर पचाउन आएका’ भन्दै गाली गरे । यस्तो दबाबबीच पीडक र पीडितबीच मेलमिलाप गरेर त्यो केस टुंग्याइयो । हेर्दाहेर्दै न्यायको घाँटी रेटियो । प्रतिवादका लागि उठेका आवाजको हत्या गरियो ।
यस्ता कैयौं घटना दोहोरिए । छिटपुट आवाज उठाउने कोसिस पनि भए । तर, अधिकांश दलित न कहिल्यै आफ्नो अधिकारका लागि बोले, न अत्याचार र विरोधमा बोले । विकासले छोएको भनिएका सहरका दलित पनि चुप रहिरहे । दलित समुदायले आफ्नो आत्मसम्मान प्राप्तिका लागि प्रयास गर्ने, आफ्नो अधिकार पाउनका लागि कोसिस गर्ने र आफ्नो क्षमतालाई प्रदर्शन गर्ने वातावरण कहिल्यै पाएनन् । आज पनि गाउँका मात्र होइन, सहरका दलितको अवस्था पनि सुधारोन्मुख छैन । उनीहरू जन्मिने र जिन्दगीलाई खान लाउनकै आवश्यकतावरिपरिको वृत्तमा घुमाएर सकाउने नियतिसँग जुधिरहेका छन् । दलितले अब बोल्नैपर्छ— यति कडा आवाजमा कि सबै सुन्न बाध्य होऊन्, हाम्रा आवाज ।

साझना तोलांगे

Page 22
कोसेली

किताबमाथि कहर

- लोकरञ्जन पराजुली

 

सन् २००० को अक्टुबर महिना । दसैंले काठमाडौंलाई छपक्कै छोप्न थालिसकेको थियो । अरू वर्षझैं दसैं मनाउन म आफू जन्मे–हुर्केको घर पोखरातर्फ हान्निएँ । काटमारमा रुचि नराख्ने, जाँड–जुवातासमा खासै नरम्ने भएपछि छुट्टीका दिनमा गर्ने काम पनि खासै नहुँदा रहेछन् । अल्छी मान्दै म पढ्ने किताब खोज्दै थिएँ । केही रोचक पुस्तक पाइएला कि भनेर बाका पुराना किताबका संग्रह खोतल्न थालें ।
एउटा अलि मैलो, पुरानिएको पुस्तक झिकेर पल्टाएँ । पोखराकै सामाजिक अभियन्ता तथा पहिलो संसद्का महासभा सदस्य मुक्तिनाथ शर्माले अनुवाद गरेको ‘कीरातार्जुनीय’ पुस्तक रहेछ । आफूले पढ्न चाहेको पुस्तक थिएन त्यो । तर, पनि पुस्तकका पाना सरर पल्टाएँ । पल्टाउँदै जाँदा एउटा पानामा लागेको छापमा मेरा नजर टक्क अडिए । अण्डाकार त्यो छापमा लेखिएको थियो— आदर्श पुस्तकालय, स्था. २००७, पोखरा ।
सायद मैले आदर्श पुस्तकालयबारे पहिले कतै सुनिसकेको हुँदो हुँ । तर, त्यसअघि मैले सो पुस्तकालयबारे कहिल्यै ध्यान दिएर सोचेको थिइनँ । यसपालि भने त्यो छापले मेरो दिमाग रन्थनियो । मैले आफैँलाई सोधेँ— २००७ सालमा पोखरामा पुस्तकालय ?
पञ्चायतकालमा जन्मे–हुर्केको म । मैले मेरो स्कुले जीवनमा कहिल्यै पुस्तकालयको दर्शन पाइनँ । सूचना विभागको ‘वाचनालय’ चाहिँ तेर्सापट्टिमा देखेको र कहिलेकाहीँ छिरेको पनि हुँ । तर, पोखरामा एउटै सार्वजनिक पुस्तकालय थिएन, म स्कुल पढ्दै गर्दा ।
मैले बालाई त्यो छाप देखाउँदै आदर्श पुस्तकालयबारे सोधें । उहाँले सो पुस्तकालयबारे सामान्य बेलिविस्तार लगाउनुभयो । पोखराका चल्तापुर्जा युवाहरूले २००७ सालको वरिपरि यो पुस्तकालय खोलेका थिए । एक समय यो पोखराको गहना थियो । यही पुस्तकालयमा आएर ठूला नेता र मन्त्रीले भाषण दिएका थिए । खुलेको केही वर्षपछि अलि निष्क्रियजस्तो भएर रहेको यो पुस्तकालयको सञ्चालनको जिम्मा पछि मेरा बाले लिनुभएको रहेछ ।
मैले पछि थाहा पाएँ, पोखरामा अरू पनि पुस्तकालय खुलेका रहेछन् । आदर्श पुस्तकालय स्थापना भएको केही समयपछि कुँडहरमा अरण्यज्योति पुस्तकालय खुलेको रहेछ । नारी विकास, ज्ञानज्योति र अरू स–साना पुस्तकालय पनि कुनै समय पोखरामा खुलेका, चलेका रहेछन् । त्यसबाहेक, पोखरा बजारमा ब्रिटिस लाइब्रेरी र इन्डियन लाइब्रेरी पनि सञ्चालित थिए ।
बालाई सोधेंको थिएँ, ‘त्यो पुस्तकालय कहाँ गयो, के भयो ?’ २०१७ सालमा महेन्द्रले बहुदलीय प्रजातन्त्र मासेर आफ्नो एकछत्र राज सुरु गरे । पहिलो जननिर्वाचित संसद् भंग गरे, राजनीतिक दलउपर प्रतिबन्ध लगाए, धरपकड गरे, अनि राजनीतिक नेता–कार्यकर्तालाई जेलमा कोचे । राजनीतिक दल र तिनका भ्रातृ संगठन मात्रलाई गैरकानुनी भनेको भए तापनि तत्कालीन बडाहाकिम तेजबहादुर प्रसाईले सो पुस्तकालय समेत बन्द गर्ने आदेश दिएछन् ।
मेरो दिमाग झन् रन्थनियो— पुस्तकालय किन बन्द गर्नुपरेको होला ! सोचें, यदि त्यो पुस्तकालय मैले, मेरो पुस्ताले पनि प्रयोग गर्न पाएको भए ! मलाई अचम्म लागिरह्यो, कता–कता के–के नमिलेको जस्तो लागिरह्यो । मेरा बाहरूको पालामा पुस्तकालय हुने अनि हाम्रो पालामा नहुने ! अचम्मैको कुरा थियो । ‘विकास’ को गति उल्टो बहेको थियो । हुन त पोखरामा पहिले जहाज पुगेको हो अनि पछि मात्र गाडी, साइकल, बयलगाडा इत्यादि ।
यो घटनापछि मेरो चासो पुस्तकालयतर्फ अलि बढ्यो । पुस्तक, पत्रिका, स्मारिकामा छापिएका पुस्तकालयसम्बन्धी समाचार सामग्री ध्यान दिएर हेर्न, संकलन गर्न थालें । ती सामग्रीलाई एक ठाउँमा राखेर केलाउँदा एउटा निश्चित प्रवृत्ति मैले देखें त्यहाँ । त्यो के भने, पञ्चायती सत्ताले, त्यसका एजेन्ट वा संयन्त्रले प्रक्रियाबद्ध ढंगबाट सार्वजनिक पुस्तकालयमाथि आक्रमण गरेका रहेछन् । बन्द गराएका रहेछन् ।
केही उदाहरण हेरौं । काभ्रेको अमरकोटमा साहित्यकार कृष्णप्रसाद पराजुली र गाउँलेहरू मिलेर २००८ सालमा स्कुल र २०१३ सालमा जागृति पुस्तकालय खोलेका रहेछन् । सो पुस्तकालयबारे पराजुली लेख्छन्, ‘पुस्तकालय... (खुलेपछि) गाउँमा जागृतिको शंख निकै फुकियो । ठाँटीको चहलपहल, केटाकेटीको पढ्ने चाहना, ग्रामीण जनताको आशाले सन्तुष्टिको यस्तो उल्लास ल्यायो, त्यस ठाउँको लोकगीत समेत बनेर
गुन्जिन थाल्यो–
घामै लाग्यो हेर न घमाइलो
अमरकोट ठाँटी क्या रमाइलो !
चरी बस्यो बाँसैको मुनामा
पढौं पुस्तक पसलको कुनामा ।’
तत्कालीन सरकारले गाउँगाउँमा खुलेका यस्ता पुस्तकालय दर्ता गरी केही आर्थिक सहायतासमेत दिने गरेको रहेछ । जागृति पुस्तकालयले पनि २०१७ सालमा सरकारी दर्ता पाएर २०१८ सालदेखि आर्थिक सहायता पाउने भएछ । यस कुराबाट मखलेल भएका पराजुली लेख्छन्, ‘म आफ्नो सफलतामा
गदगद भएँ, तर यो खुसीले प्राप्ति देख्न पाएन । त्यसैबीच २०१७ सालको परिवर्तन आयो । धेरै कुरा यताउति परे ।’
यहाँनेर ‘यताउति परे’ भन्नुको एउटा मतलब हो— जननिर्वाचित सरकारले पुस्तकालयलाई दिँदै आएको आर्थिक सहयोग व्यवस्था परिवर्तनसँगै बन्द हुनु । शिव रेग्मीले लेखेका छन्, ‘सत्र सालपछि पुस्तकालयहरू आर्थिक सहयोग र प्रोत्साहनको अभाव तथा सरकारी नियन्त्रणबाट सुक्दै जान थाले र प्रायः बन्द भए । २०१९ सालमा संविधानमा र ऐनमा समेत राजनीतिक उद्देश्यले प्रेरित संघ–संगठन खोल्न प्रतिबन्ध लगाएका हुन् तापनि सार्वजनिक संघ–संस्था खोल्नसमेत झैझमेला हुन थाल्यो र यस्ता संघ–संस्था खोल्न मानिसहरू डराउन थाले । पुस्तकालयको संख्या बढ्नुको सट्टा घट्दै गयो ।’
सर्लाहीको मलंगवामा २००४ सालमा स्थापित मनोहर मोहन (पछि जनविकास) पुस्तकालय २०१७ सालको महेन्द्रको कूपछि कसरी शनैःशनैः समाप्त पारियो भनेर लक्ष्मण उपाध्याय लेख्छन्, ‘२०१७ सालको राजनीतिक परिवर्तनपछि शाही सेना र प्रहरीलाई
जिल्ला जिल्लामा परिचालन गरियो । यसै क्रममा सर्लाही आएको डफ्फाले
पुस्तकालय रहेको घर कम्पाउन्डलाई
आफ्नो बासस्थान बनायो । बीच बजारमा रहेको पुस्तकालयको जग्गामा भवन सकिएको थिएन । खाली रहेको जग्गालाई आफ्नो बनाउन चाहनेहरू यस्तै मौका खोजिरहेका थिए । उनीहरू अनेक बहानामा पुस्तकालय बन्द गराउन प्रयत्नशील थिए । स्थानीय प्रशासकहरूको पनि यसमा सहमति थियो । निहित स्वार्थीहरूको सक्रियतामा जनविकास पुस्तकालय गाउँ पञ्चायत भवनमा सारियो । गाउँ पञ्चायतले पुस्तकालय सञ्चालन गराउनुको साटो पहिले त्यसको फर्निचरमा आँखा गाड्यो । पछि पुस्तकालयको अस्तित्व नै मेटाउनेतर्फ उन्मुख भयो ।... पुस्तकालयको जग्गाचाहिँ निजी सम्पत्तिमा परिणत भयो ।’
त्यस्तै, चितवनको अर्को पुस्तकालयबारे पूर्णप्रसाद अधिकारीले लेखेका छन्, ‘२०१६ सालमा चितवनको नारायणगढ बजारमा नारायणी पुस्तकालय स्थापना गरिएको थियो ।... यस संस्थाका व्यक्ति नेपाली कांग्रेसका भएकाले यो पुस्तकालय बारम्बार पञ्चायती आक्रमणको सिकार भयो । २०२६ सालतिर केही उग्र पञ्चेका चेला मानिने भिजिलान्तेहरूले पुस्तकालय तोडफोड गरी अत्यन्तै मूल्यवान पुस्तकहरूलाई नारायणी नदीमा बगाइदिए ।’
सनत रेग्मीले नेपालगन्जको प्रेम (पछि महेन्द्र) पुस्तकालयबारे, कृष्णप्रसाद बस्यालले जुम्लाका पुस्तकालयबारे, वनमाली ‘निराकार’ ले पाल्पाको धवल पुस्तकालयबारे, हिक्मत खड्काले धरानका पुस्तकालयबारे लेखेका सामग्रीमा पनि पञ्चायती सत्ता र त्यसका एजेन्टले सार्वजनिक पुस्तकालयउपर कसरी दागा धरेका थिए भन्ने संकेत पाइन्छ । पञ्चायती सत्ताले पोखरा र अन्य केही सहरमा खुलेका ‘विदेशी’ पुस्तकालय पनि बन्द गराइदिएको थियो ।
यी सबै पढिसकेपछि म झन् अचम्भित भएको थिएँ– ‘शिक्षाको मूल फुटाउने’ नारा दिने सरकारले किन पुस्तक वा पुस्तकालयउपर यसरी आक्रमण गरेको होला ! थप पढ्न, खोतल्न थालें । पछि पुस्तकालयसम्बन्धी थप अध्ययन गर्दा मेरा बा र अरू थुप्रैलाई आदर्श र अन्य पुस्तकालयबारे, तिनमा संगृहीत पुस्तक, तिनका प्रयोगकर्ता, तिनले गर्ने गतिविधिबारे खोज–पड्ताल गरेको थिएँ । पोखराको आदर्श पुस्तकालयलाई बडाहिकम तेजबहादुरले किन तत्कालै बन्द गर्ने आदेश दिए होलान् भन्नेमा मलाई निकै चासो थियो ।
अध्ययनबाट मैले के पाएँ भने सार्वजनिक पुस्तकालय पञ्चायती सत्ताको तारो बन्नुका कारणमध्ये एउटा त ती पुस्तकालयसँग सम्बन्धित व्यक्तिहरूको ‘राजनीतिक’ आबद्धता थियो । दोस्रो, पुस्तकालयले गर्ने सार्वजनिक गतिविधि थिए । तेस्रो, तिनले उपलब्ध गराउने ‘स्पेस’ थियो । र, चौथो तिनमा संगृहीत हुने सामग्री थिए । आदर्श पुस्तकालयका संस्थापक ‘कांग्रेसी’ हरू थिए । त्यसैले, सो पुस्तकालय ‘युजुअल सस्पेक्ट’ त हुने भइहाल्यो । तर, त्योभन्दा बढी त्यसले समय–समयमा आयोजना गर्ने कार्यक्रम आँखाका कसिंगर थिए । पुस्तकालयले ‘सार्वजनिक वृत्त’ को भूमिका निर्वाह गरिरहेको थियो ।
एउटा उदाहरण हेरौं । नेपालमा २००७ पछि लगत्तै हुनुपर्ने संविधानसभाको चुनाव धेरै वर्षसम्म हुन सकेन । व्यापक दबाबपछि अन्ततः महेन्द्र आमचुनाव गराउन तत्पर भएका थिए, त्यो पनि संविधानसभाको होइन संसद्को । संसद्को चुनाव नजिकै आइसकेको थियो, सबै जना निर्वाचनमा होमिइसकेका थिए, तर संसद् कसरी बन्छ, कसरी चल्छ कसैलाई केही अत्तोपत्तो थिएन । संविधानै थिएन । बल्ल आमचुनावको एक हप्ताजति अघि महेन्द्रले संविधानको खोस्टो फ्याँकिदिए ।
यो संविधानको धारा ५५ मा यस्तो व्यवस्था पनि थियो, जसमार्फत राजाले चाहेका बेला शासनसत्ता खोस्न सक्थे । केही समयपछि भयो पनि त्यस्तै । संविधानमा त्यस्तो व्यवस्था देखेपछि मेरा बालाई लागेछ— यो त सही होइन । बाहरूले आदर्श पुस्तकालयमा नयाँ संविधानउपर बहस गर्न कार्यक्रम आयोजना गर्नुभएछ । संविधानमा राखिएको त्यस्तो प्रावधानउपर प्रश्न गर्नुभएछ ।
जब महेन्द्रले कू गरे उनका अनुचर बडाहाकिमले राजाको कदमको वैधतालाई प्रश्न गर्ने ठाउँलाई के बाँकी राख्थे ! त्यसमाथि कांग्रेसीहरू संस्थापक भएका संस्था !
महेन्द्रले शासनसत्ता बलात हातमा लिएपछि सार्वजनिक जीवनमा सन्नाटा छाएको थियो । सरकारी ढ्वाङहरूले एकथरी समाचार प्रसारण गर्थे, छाप्थे । हल्ला अर्कै आउँथ्यो– दिनदिनै हत्याको, हिंसाको । यस्तैमा एक दिन बडाहाकिम तेजबहादुर प्रसाईले सादा पोसाकका दुई प्रहरी खटाएछन् मेरा बालाई लिन । प्रहरीसँगै बडाहाकिमकहाँ पुगेका मेरा बालाई उनले आदर्श पुस्तकालय बन्द गर्ने आदेश दिएछन् । मेरा बाले यो त शैक्षिक संस्था पो हो भन्नुभएछ । प्रसाईले भनेछन्, ‘मलाई थाहा छ त्यो कस्तो संस्था, त्यहाँ के–कस्ता गतिविधि हुन्छन् भनेर ।’ मेरा बाले गर्न सक्ने धेरै ठाउँ थिएन । त्यसपछि आदर्श पुस्तकालय बन्द भयो । ज्ञानको ढोकामा ताल्चा ठोकियो ।
त्यसपछि बन्द भयो नारी विकास पुस्तकालय । अरण्यज्योति पनि बन्द भयो । ज्ञानज्योति पुस्तकालयमा पनि आक्रमण भयो । यीमध्ये केही बन्द हुनुमा तिनका संस्थापक–सञ्चालको राजनीतिक आबद्धता कारक थियो । केहीमा संगृहीत सामग्रीका कारण आक्रमण गरिएको थियो । अध्येता स्टेफन माइकसेलका अनुसार तनहुँ, बन्दीपुरको पद्म पुस्तकालयमा अनुगमन गर्ने क्रममा सत्ताका अनुचरले ‘कंग्रेस अफ सोभियत्स’ भन्ने पुस्तक भेट्टाएछन् । पुस्तकको नाम ‘अराष्ट्रिय तत्त्व’ भनिने प्रतिबन्धित दल नेपाली कांग्रेससँग मिल्न गएकाले सो पुस्तक त्यहाँबाट हटाउन ती अनुचरले आदेश दिए र सो पुस्तक हटाइएछ पनि ।
तानाशाही व्यवस्थामा शासक र व्यवस्थालाई नरुचेका पुस्तक जलाइएका बग्रेल्ती उदाहरण छन् । सन् १९३३ मा हिटलरको नाजी पार्टी शासनमा आएपछि उसले गरेका एउटा काममा पुस्तकालयलाई नियन्त्रणमा लिनु थियो । अध्येता स्टिगका अनुसार, पुस्तकालयबाट यहुदीहरूले लेखेका पुस्तक हटाएर आगो बालिएको थियो । राविन्स्कीले रसियामा कम्युनिस्ट शासन हुँदा कसरी ‘मास लाइब्रेरी’ हरूमा अन्तर्वस्तु (पुस्तक) नियमन गरिन्थ्यो भनेर लेखेका छन् । त्यसैगरी चिनियाँ सांस्कृतिक क्रान्तिको दौरान सत्ताले अनावश्यक ठह‍र्‍याएका पुस्तक बाहिर बाटोमा ल्याएर जलाइएको थियो ।
मेरा बाको पुस्ताले बरु पुस्तकालयसम्म थोरबहुत पहुँच पाए । तर, मेरो पुस्ताले सार्वजनिक पुस्तकालयको मुख देख्न पाएन । कसैले घरमा आफ्ना बाउ–आमाले किनेर ल्याइदिएका किताब थोरबहुत बाँचे होलान् । कसैले अलि ठूलो भएपछि येनकेन केही पुस्तक खरिदेर, सापटी लिएर पढे होलान् । तर, समग्रमा हामी बाहिरी पुस्तक नदेखी–नपढी हुर्कियौं । पञ्चायत त पञ्चायत भइगयो, बहुदल आएपछि पनि पुस्तकालय खोलौं, पुस्तकमा, ज्ञानमा, समाज विज्ञानमा लगानी गरौं भन्ने हाम्रा कुनै शासकले ठानेनन् । उल्टो, अहिले बाहिरबाट आउने पुस्तकमाथि करको भार थोपरिएको छ । करकै कारण विदेशबाट आउने पुस्तक अहिले बजारमा पाइन छाडेका छन् ।
विद्यावारिधि गरेका, पुस्तक लेखेका रामशरण महतले पनि आफू अर्थमन्त्री हुँदा पुस्तकमा कर लगाएका थिए । तर, विरोध भएपछि उनले फिर्ता लिए । थोरै समझ देखाए । अहिले पनि विद्यावारिधि गरेका अर्का अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट आउने किताबमा पुनः कर लगाइदिएका छन् ।
मलाई थाहा छैन, वर्षभरिमा किताबको कति कर उठ्दो हो । अहिलेका प्रधानमन्त्रीले आफ्नो जन्मोत्सव मनाउन जति खर्च गरे, किताबको कर त्यति उठ्दो हो ? खर्बौंको बजेट बन्ने मुलुकमा त्यो सानो रकमको कुनै ठूलो महत्त्व हुन्छजस्तो मलाई लाग्दैन । र, ‘कर’ कै कारण पुस्तकउपर कहर बढाइएको हो भन्ने पनि म मान्दिनँ । सत्ताधारी पार्टीका अध्यक्षले भनेकै हुन्— मान्छे बढी पढेर बौलाए भनेर । यहाँ बौलाउनु भनेको उनलाई प्रश्न गरियो भनेको हो । उनको आलोचना गरियो भनेको हो ।
हो, यो मेरो सरकार प्रश्नसँग डराउँछ । ज्ञान, बुद्धि, विवेकसँग डराउँछ । तसर्थ, यो फगत पुस्तकउपर कर लगाइएको होइन । यो त ज्ञान, बुद्धि र विवेकउपरको आक्रमण हो । नागरिकलाई बुद्धू बनाउने, भेडा तुल्याउने प्रपञ्च हो । पंगु तुल्याउने षड्यन्त्र हो । मेरा बाहरू पुस्तकालय बन्द गरिँदा टुलुटुलु हेरिरहन बाध्य थिए । मेरो पुस्ता किताबमाथि करको अंकुश लगाएको झेल्न अभिशप्त छ ?

कोसेली

न्याय निरूपणको याचना

उपन्यासको ध्येय मानवअधिकार, महिला मुक्ति र न्यायको सवाल नै हो । लेखकले अनेक चरित्र खडा गरी तिनीहरूमार्फत नीतिनिर्माण तहलाई झकझक्याउने प्रयास गरेकी छन् ।
- फणीन्द्र संगम

 

न्याय सेवामा ३० वर्ष बिताएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको उपन्यास ‘कारा’ ३० वर्षअघिकै कथा हो, महिला कैदीबन्दीहरूको । उपन्यासको कथाकेन्द्र कारागार भए पनि महिलाका पारिवारिक र सामाजिक हिंसाको प्रताडनालाई खोतलिएको छ । राजनीतिक व्यवस्था फेरियो, सामाजिक संरचना बदलियो तर ‘सुधारगृह’ भनिने जेलभित्रको जीवन फेरिएन । जेलर र नाइके/नाइकेनीको कठोर सत्ताको भुमरीमा कैदीबन्दी पिल्सिइरहेका छन् । किनकि यहाँभित्रको नेक्सस, राजनीति, भ्रष्टाचार, आरोप–प्रत्यारोप अनि गुट–उपगुटको चक्र चलिरहेकै छ ।
लेखकीय भूमिकामा छ— ‘कारा भौतिक बन्धनको कथामात्र होइन, समाजले महिलाहरूलाई लगाएको मानसिक बन्धनको पनि कथा हो ।’ यस्तै बन्धनमा जकडिएकी हीरामायाले श्रीमान्को हत्या गरेको घटनाबाट उपन्यासको उठान हुन्छ ।
उपन्यासमा महिला पात्रको भीड छ, जसमा सशक्त पात्र हीरामाया नै हो । जो परिबन्धमा परेर श्रीमान्को हत्या गरी एकवर्षे छोरोसहित कारागार आइपुगेकी छ । पारिवारिक दबाबमा परेर १८ वर्षे हीरामायाले ५५ वर्षे लाहुरेसँग बिहे गरेको, लगातार छोरी मात्रै जन्माउँदा श्रीमान् र समाजको तुच्छ वचन खेप्न बाध्य भएको र आत्मरक्षाका लागि श्रीमान्विरुद्ध हतियार उठाएको प्रसंग मार्मिक छ । कारागारमा हीरामायाजस्ता परिबन्धमा परेर आएका महिला मात्रै छैनन् । कोही देशव्यापारमा संलग्न छन्, कोही सन्तान सिध्याउने, कोही साथीको हत्या गर्ने अनि कोही छिमेकी मार्ने । झुम्रीदेवी तेलीजस्ता बिनाकसुर जेल परेका महिला पनि यहीँ छन् । न्यायालय र प्रहरीको सूक्ष्म अनुसन्धान अभावमा निर्दोष कसरी फस्छन् भन्ने उदाहरण हो, झुम्री । पञ्चायतकालको आखिरी समयको कथा हो यो तर गणतान्त्रिक न्यायालयको ‘छवि’ मा खास सुधार भएको देखिन्न । दबाब र प्रभावले ग्रस्त अदालतप्रति पुष्पा (राजनीतिक बन्दी) ले भनेकी छ, ‘आमजनताका छोराछोरी जेसुकै नाममा पक्राउ परून् । कसुरदार हुन् कि नहुन् । अन्यायमा परेका हुन् कि नहुन् । न्यायाधीशलाई के मतलब ?’ (पृ. ६७) ।
उपन्यासका पात्र, तिनको व्यवहार, जीवनशैली अनि सोचाइबारे पढ्दा जेल फरक संसारझैं लाग्छ । नाइकेनी तिम्मालाई रिझाउने सावित्री र लालुमायाको व्यस्तता होस् वा शिवा र सुधाको भड्किलो जीवनशैली । पुष्पा र सानुसहित हीरामाया, बुँदिया, माया, फुलवा, दार्जिलिङेको गुटबन्दीले यहाँको वर्गसत्तालाई संकेत गर्छ । सानो कुरामा चित्त नबुझे सेलमा कोचिदिने कठोर तिम्मा पनि यहीँ छे, दाजिलिङेजस्ता शान्त स्वभाव पनि यहीँ छ । जेल नै संसार ठान्ने बनारसीजस्ता महिला पनि छन् । चरम गरिबीले च्यापेपछि कतिपय महिला देहव्यापारमा लाग्छन् भने उच्च महत्त्वांकाक्षा पाल्नेहरू पैसाको लोभमा आकर्षित हुन्छन् । शिवा र सुधा यस्तै युवती हुन्, जसको सम्बन्ध उच्च पदमा रहेका पहुँचवाला व्यक्तिसँग छ । रासनपानीमा हिनामिना, औषधिलगायत सुविधामा कटौती गर्ने र कमिसन खाने नाइकेनी चरित्र भने जब्बर देखिन्छ । यही दृश्यले देखाउँछ, कारागारभित्र ठूलो धन्दा चलिरहेको छ ।
निर्मम सत्ता चलाइरहेकी नाइकेनीविरुद्ध पुष्पाको कूटनीतिक चातुर्य भने निकै रोचक छ । अन्य महिलाको साथ पाएपछि पुष्पा तिम्माको जेलसत्ता ढाल्न सफल हुन्छे । जेलभित्रको अव्यवस्था सुधार्न उसलाई सानुले साथ दिएकी छ । उनीहरूले जेलभित्रका महिलालाई सामाजिक बन्न मात्रै सिकाएका छैनन्, प्रौढ शिक्षा चलाएर ज्ञानको दायरा बढाउन कोसिस गरेका छन् ।
कोही पुरुष जेल परे श्रीमती र परिवारको निरन्तर सम्पर्क/सहयोग देखिन्छ । जब महिला जेल पर्छे, न परिवारको साथ न त श्रीमान्को सहानुभूति । समाजमा जति बन्धनमा छन् महिला, जेलभित्र पनि उस्तै विभेदको शृंखला चलिरहन्छ । जेलबाट निस्किँदा पुरुषलाई पुनःस्थापित हुन गाह्रो छैन । महिलालाई भने परिवारले नै नस्विकार्ने अवस्था आउनु समाजको अँध्यारो पक्ष हो । कारागारभित्रका महिलालाई न्यायको पहुँचसम्म पुग्नसमेत निकै गाह्रो छ ।
उपन्यासमा सबैजसो महिला पात्र खडा गर्नुको लेखकीय उद्देश्य उनीहरूको सूक्ष्म रूपमा न्याय निरूपण गरियोस् भन्ने देखिन्छ । त्यसो त जघन्य अपराधमा पुरुषको तुलनामा महिलाको संलग्नता निकै कम छ । पुष्पा भन्छे– ‘खुंखार हत्यारा भएर यी परिबन्द र परिस्थितिले हत्यारा बनाएका महिला हुन सक्छन् । सबै दोषी नहुन सक्छन् ।’ (पृ. ७१) । अदालती प्रक्रियामा गरिने न्याय निरूपणमा यो विनम्र याचनाले ठूलो अर्थ राख्छ ।
२०४६ सालको आन्दोलनको परिदृश्य र चैत २६ गते बहुदल घोषणा भएसम्मको समयरेखा उपन्यासमा छ । जब पञ्चायती व्यवस्था ढल्छ, राजनीतिक फाइदा लिने प्रवृत्ति एकाएक देखापर्न थाल्छन् । जस्तो कि हवल्दार लालबहादुर । पञ्चायती व्यवस्थाको हिमायती ऊ एकाएक बहुदलतिर ढल्किएर छेपारे प्रवृत्ति देखाउँछ । सत्ता र स्वार्थका लागि पार्टी फेर्ने हालका नेताहरूप्रतिको व्यंग्य पनि हो यो ।
बहुदल घोषणासँगै राजनीतिक बन्दी पुष्पा र सानु छुट्छन् । तिम्मा भने एकाएक संन्यासी बनेर देखापर्छे । घरसमाजले अस्वीकार गर्दा उनीजस्ता महिला जेल जीवनपछि पनि परित्यक्त बन्नुपर्ने तीतो यथार्थलाई यो दृश्यले झस्काउँछ । उपन्यासको ध्येय मानवअधिकार, महिला मुक्ति र न्यायको सवाल नै हो । राज्य प्रणाली सुध्रिए मात्र त्यो सुधार कारागारसम्म पुग्छ । लेखकले अनेक चरित्र खडा गरी तिनीहरूमार्फत नीतिनिर्माण तहलाई झकझक्याउने प्रयास गरेकी छन् । लेखक आफैंको कारागार अनुभव पनि हो पुस्तक । विद्यार्थी राजनीतिमा सक्रिय हुँदा पक्राउ परेकी उनले भोगेको मानसिक यातना र देखेको कारागारीय जिन्दगी डायरी शैलीमा लेखिएको छ । प्रहरी प्रशासन र न्यायालयको छिद्रबारे लेखकीय दृष्टि ‘बुझ्नेलाई इसारा काफी’ छ ।
यद्यपि उपन्यासमा केही कमजोरी छन् । प्रथम पुरुष दृष्टिविन्दुमा उपन्यासकार (पुष्पा पात्रका रूपमा) बोल्दै जाँदा एकाएक अर्को संवाद मिसिन्छ । कतिपय ठाउँमा उद्धरण चिह्न नराख्दा संवाद कुन पात्रको हो भनेर छुट्याउन समस्या छ । पात्रको पारिवारिक सूक्ष्म वर्णनमा लेखकले बढी शब्द खर्चिएकी छन् । उस्तैउस्तै कथा बोकेका पात्रलाई छनोट गरी प्रतिनिधि पात्र मात्रै प्रवेश गराएको भए पुस्तक छरितो बन्ने थियो । उही कथा दोहोरिँदा कथाको सिलसिलामा ठेस लाग्छ । तथापि पुस्तक बजारको भीडमा ‘फ्रेस कन्टेन्ट’ ले पाठकलाई नयाँ स्वाद भने दिएको छ ।

Page 23
कोसेली

'ड्रिम टिम २०७६'

- राजु घिसिङ

कुनै पनि देशको फुटबलको आधार घरेलु लिगलाई मानिन्छ । मतलब जुन देशको लिग बलियो हुन्छ, त्यही देशले अन्तर्राष्ट्रिय फुटबलमा पनि राम्रो हुन्छ । फुटबलमा बलियो भएका देशहरूमा घरेलु लिग ९–१० महिना चल्छ । ‘विकिन्ड लिग’ अर्थात् सप्तहान्त (बिदाको दिन) खेलाइन्छ । हाम्रोमा भने फरक छ, टालटुले किसिमले लिग आयोजना गरिन्छ । यहाँको लिग तीन महिना पनि चल्दैन । कहिले त डेढ महिनामै सकाइन्छ । त्यसैले एउटै टिमले सातामा तीन खेलसम्म पनि खेल्छन् । त्यसैले नेपाली फुटबललाई अझै व्यावसायिक मान्ने आधार छैन ।
२०११ सालमा सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग नै नेपालको सबभन्दा प्रतिष्ठित घरेलु प्रतियोगिता हो । राजधानीका क्लबहरूले प्रतिस्पर्धा गर्ने ए डिभिजन लिगको ४१ औं संस्करण मंसिर २८ देखि फागुन ३ सम्म चल्यो । दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा १४ क्लबले राउन्ड रोबिन लिगको आधारमा १३–१३ खेल खेले । कुल ९१ खेल भयो र त्यसमा प्रतिखेल २.३१ को औसतमा २१० गोल भयो ।
अघिल्लो सिजनको रेलिगेसन नहुने लिगको पुछारबाट दोस्रोमा रहेको मछिन्द्र यसपालि नाम चलेका खेलाडीहरूलाई भित्र्याएर बलियो मात्रै भएन, जित्नैपर्ने अवस्थामा अन्तिम खेलमा आर्मीलाई हराएर ए डिभिजन लिगको नयाँ च्याम्पियन नै बन्यो । अन्तिम स्थानमा रहेपछि सरस्वती युवा क्लब रेलिगेसनमा पर्‍यो अर्थात् घटुवामा पर्‍यो, शीर्ष श्रेणीको टिमको हैसियत गुमायो । खेलहरूमा स्तर घटेको देखियो । दर्शक पनि खासै तान्न सकेन । प्यारापिट खालीखाली भए । ठूला र साना टिमहरूबीच खासै ठूलो अन्तर देखिएन ।
केही प्रतिभावान खेलाडी पनि देखिए । तर, खेलमा पुरानै खेलाडीहरूको पकड रह्यो । राष्ट्रिय टिममा रहेका खेलाडीहरू नै लिगमा पनि हावी भए । विदेशी खेलाडीको प्रदर्शन धेरै टिमका लागि निर्णायक रह्यो । तीन विभागीय टिमहरूबाहेक ११ क्लबबाट ४० बिदेशी खेलाडी मैदानमा उत्रिए । भारतका ७, ब्राजिलका ३, जापानका ३ जना थिए भने बाँकी २७ खेलाडी अफ्रिकाबाट आएका । प्रभावशाली प्रदर्शन गरे पनि उनीहरूलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले व्यक्तिगत अवार्डको दायरामा राख्दैन । खेलकुदमा भेदभाव हुँदैन भनिए पनि एन्फाको त्यो पुरानै चलन हो । हामीले भने उनीहरू उनीहरूलाई पनि समेट्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६’ को ‘ड्रिम टिम’ बनाएका छौं ।

छनोटको किसिम
एन्फाले ए डिभिजिन लिग २०७६ को शीर्ष ६ टिम (मछिन्द्र, आर्मी, मनाङमर्स्याङ्दी, थ्रीस्टार, पुलिस र जावलाखेल) लाई समेट्दै वैशाखमा राष्ट्रिय लिग आयोजना गर्ने घोषणा गरेको छ । तिनै शीर्ष ६ टिमका प्रशिक्षकहरू प्रशिक्षकहरू प्रवेश कटुवाल (मछिन्द्र), नवीन न्यौपाने (आर्मी), तोपे फुजा (मनाङ), मेघराज केसी (थ्रीस्टार), अनन्तराज थापा (पुलिस) र नरेश थापा (जावलाखेल) को छनोटको आधारमा ‘ड्रिम टिम’ बनाएका छौं । नेपाली फुटबलको परम्परागत संरचना हो ४–४–२ । यसै शैलीमा रहेर हामीले हरेक पोजिसनमा एक प्रशिक्षक एक मतको आधारमा उत्कृष्ट ११ खेलाडी छनोट गरी ड्रिम टिम तयार पारिएको हो । एउटा पोजिसनमा अधिकतम ५ खेलाडीले मत पाए । लिगमा खेल्दै नखेलेको पोजिसनमा पनि प्रशिक्षकहरूले खेलाडी छनोट गरे, जुन खेलाडीको क्षमताको आधारमा प्रशिक्षकको चाहना पनि हो । ड्रिम टिममा च्याम्पियन मछिन्द्रकै वर्चस्व रह्यो । उसका ५ खेलाडीले स्थान बनाए । आर्मी, मनाङ, थ्रीस्टारका २–२ खेलाडी परे । छनोटमा १० क्लबका २९ खेलाडीले मत पाए । त्यसमा ६ विदेशी परे । चार अफ्रिकी ड्रिम टिममै छानिए । तीन खेलाडीले फरक दुई पोजिसनमै मत पाए । कुनै पनि खेलाडीले सबै प्रशिक्षकको मत पाउन सकेनन् ।
ड्रिम टिमको प्रशिक्षकको छनोट शीर्ष ६ टिमका कप्तानहरू विराज महर्जन (मछिन्द्र), भरत खवास (आर्मी), कमल श्रेष्ठ (मनाङ), विक्रम लामा (थ्रीस्टार), भोलानाथ सिलवाल (पुलिस) र कुलदीप कार्की (जावलाखेल) को मतको आधारमा गरिएको हो । लिगको नतिजा, प्रदर्शन, खेलमा प्रयोग गरेको टेक्निक र ट्याक्टिसको आधारमा उनीहरूले प्रशिक्षकलाई चयन गरेका हुन् । क्लबले प्रशिक्षकको रूपमा दर्ता नगरे पनि टिम सम्हालेका मनाङका तोपे फुजा र जावलाखेलका किशोर केसीलाई पनि कप्तानहरूले मत दिए ।


नवीन न्यौपाने
(प्राप्त मत ः २)
प्रशिक्षक, आर्मी
खेल ः १३
जित ः ९
बराबर ः २
हार ः २
प्रतिद्वन्द्वी ः प्रवेश कटुवाल, मछिन्द्र (१), मेघराज केसी, थ्रीस्टार (१), तोपे फुजा, मनाङ (१), किशोर केसी, जावलाखेल (१)
आर्मी अन्तिम खेलमा जित मात्र होइन, बराबरी नतिजाले पनि लिग च्यम्पियन हुने थियो । तर, त्यो खेलमा आर्मी कमजोर देखियो र नतिजा १–० ले आफ्नो पक्षमा पार्दै मछिन्द्र नयाँ च्याम्पियन बन्यो । अरु खेलमा भने आर्मीको प्रदर्शन हेर्नलायक थियो । मिहिनेती प्रशिक्षक नवीन न्योपानेले आर्मीले टिम सम्हलोको तीन वर्ष भयो ।
यसबीच उनले आर्मीलाई आक्रामक शैली र तीव्र गतिमा खेल्ने आधुनिक फुटबलको दर्शनमा रूपान्तरण गरिदिए । ४० वर्षीय उनी प्रशिक्षकको रूपमा च्याम्पियन बन्ने सपना यसपालि अधुरै रह्यो ।


आशिष लामा
(प्राप्त मत ः ४)
फरवार्ड, एपीएफ
खेल ः १२
गोल ः ९
प्रतिद्वन्द्वी ः भरत खवास, आर्मी (४), एडेलाजा सोमिडे, मछिन्द्र (२), सन्तोष साहुखल, च्यासल (१), विमल राना, मनाङ (१)
गत वर्ष ३ गोल गरेका आशिष २०७६ को सर्वाधिक गोलकर्ता हुने कसैले अनुमान गरेको थिएन । त्यो पनि रेलिगेसन टार्न खेलेको एपीएफका खेलाडीबाट । शारीरिक रूपमा बलिया र राम्रो फरवार्डमा हुनुपर्ने गुण भएका उनले ९ गोल गर्दै आफ्नो क्षमतालाई सावित गरिदिए । सशस्त्र प्रहरी बलको टिमले गरेको १५ गोलमध्ये ६० प्रतिशत उनले गरिदिए ।
अवार्ड नपाए पनि सर्वाधिक गोलकर्ता बन्ने क्रममा आशिषले च्यासलका सन्तोष साहुखल (७), मनाङका अन्जन विष्ट (६), विमल राना (६) र आर्मीका नवयुग श्रेष्ठ (६) लाई पछाडि पारे । २४ वर्षीय आशिषले सरस्वती, एनआरटी, फ्रेन्डसविरुद्ध २–२ तथा संकटा, आर्मी र ब्रिगेड ब्वाइजविरुद्ध १–१ गोल गरे । उनको सुटिङ सटीक हुने गर्छ ।


भरत खवास
(प्राप्त मत ः ४)
फरवार्ड, आर्मी
खेल ः १३
गोल ः ४

प्रतिद्वन्द्वी ः आशिष लामा, एपीएफ (४), एडेलाजा सोमिडे, मछिन्द्र (२), सन्तोष साहुखल, च्यासल (१), विमल राना, मनाङ (१)
गत वर्षको लिगमा ७ गोल गर्दै उत्कृष्ट फरवार्ड चुनिएका भरतले २०७६ मा ४ गोल मात्रै गरे पनि उक्त अवार्ड हात पारे । आर्मीका यी कप्तानले च्यासल, हिमलायन
शेर्पा, जावलाखेल र ब्रिगेड ब्वाइज्विरुद्ध
गोल गरे । ब्रिगेड ब्वाइजविरुद्धको गोलसँगै
उनी सहिद स्मारक ‘ए’ डिभिजन लिग
(२०४६ यता) ५० गोल पूरा गर्ने आठौं
खेलाडी बने ।
नेपाली सेनामा ७२०६९ मा भर्ती भएका उपसेनानी भरतले आर्मीलाई ऐतिहासिक उपलब्धिको संघारमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका थिए । सेनाको तालिम र चोटसँग संघर्ष गरिरहेका २८ वर्षीय उनी फेरि उत्कृष्ट लयमा फर्किने प्रयासमा छन् ।

 


एडेलाजा सोमिडे
(प्राप्त मत ः २)
लेफ्ट विङ्स, मछिन्द्र
खेल ः १२
गोल ः ४
प्रतिद्वन्द्वी ः सुजल श्रेष्ठ, मछिन्द्र (१), सुजित बुढाथोकी, जावलाखेल (१), भरत खवास, आर्मी (१), स्टेफेन समीर, हिमालयन शेर्पा (१)
यो सिजन मछिन्द्रको लागि सबभन्दा बढी ४ गोल गर्ने तीन खेलाडीमध्ये एक हुन् एडेलाजा सोमिडे । शारीरिक रूपमा बलिया उनले फ्रेन्ड्स, एनआरटी, मनाङ र सरस्वतीविरुद्ध गोल गरे । चारै गोल दोस्रो हाफमा गरे ।
यी नाइजेरियन फरवार्ड प्रशिक्षक प्रवेश कटुवालको ४–३–३ संरचनामा अग्रपंक्तिमा खेल्छन् । उनले ४–४–२ मा प्रशिक्षकहरूले लेफ्ट–विङ्समा मत दिए । अलि सुस्त देखिए पनि उनलाई रोक्न नेपाली डिफेन्सलाई गाह्रै पर्छ । अघिल्लो सिजन मनाङका लागि खेलेका उनले लगातार दोस्रोपल्ट ए डिभिजन लिगको उपाधि जितेका हुन् ।

 


विशाल राई (बी)
(प्राप्त मत ः ५)
सेन्टर मिडफिल्ड, मछिन्द्र
खेल ः १३
गोल ः ४
प्रतिद्वन्द्वी ः आन्द्रेस निआ, मछिन्द्र (४), सन्तोष तामाङ, आर्मी (१), सेसेहाङ आङदेम्बे, आर्मी (१), तेज तामाङ, पुलिस (१)
आक्रामक मिडफिल्डर विशालले ए डिभिजन लिग २०७६ मा ४ गोल गरे, थप ३ गोलमा अन्तिम पास दिए । उनले जावलाखेल, थ्रीस्टार, एपीएफ र संकटाविरुद्ध गोल गरे, ती सबै खेल मछिन्द्रले जित्यो । उनले यो लिगकै उत्कृष्ट मिडफिल्डरको अवार्ड पनि जिते ।
सही समयमा सही स्थानमा पुग्ने विशालको खुबी हो । उनी गोलको अवसर सिर्जना गर्न र आफैं गोल हान्न पनि सिपालु छन् । २७ वर्षीय उनले यो लिगका सबै खेल खेले । मछिन्द्रको ऐतिहासिक सफलतासँगै लिगको उपाधिमा विशालले ह्याट्रिक गरे । उनले अघिल्ला दुई लिग मनाङसँग
जितेका थिए ।


आन्द्रेस निआ
(प्राप्त मत ः ४)
सेन्टर मिडफिल्ड, मछिन्द्र
खेल ः ११
गोल ः १
प्रतिद्वन्द्वी ः विशाल राई बी, मछिन्द्र (५), सन्तोष तामाङ, आर्मी (१), सेसेहाङ आङदेम्बे, आर्मी (१), तेज तामाङ,
पुलिस (१)
मछिन्द्रको मिडफिल्डमा प्रशिक्षक प्रवेश कटुवालले आक्रामणको जिम्मेवारी विशाललाई दिएका थिए भने डिफेन्सिभ मिडफिल्डरको भूमिकामा आन्द्रेस निआलाई राखेका थिए । निआले पनि आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे । विपक्षीले आक्रामणको प्रयासमा अघि बढ्दा मैदानको मध्यभागमै ट्याकल गर्न र बल खोस्नमा निआ निकै प्रभावशाली देखिए । शारीरिक रूपमा अग्लो र बलिया उनी अगाडि पनि सटीक पास दिन्थे । उनले सरस्वतीविरुद्ध ६–१ को जितमा ९५ औं मिनेटमा गोल पनि गरे । क्यामरुनका उनी गत वर्ष दाउफिन्सबाट नकआउट प्रतियोगितामा देखिएका थिए । पहिलोपल्ट नेपालको लिग खेल्दै च्याम्पियन भए ।

 


अन्जन विष्ट
(प्राप्त मत ः ५)
राइट विङ्स, मनाङ
खेल ः ८
गोल ः ६
प्रतिद्वन्द्वी ः रवि पासवान, पुलिस (१)
विश्वकप २०२२ छनोटमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्न थिम्पु जानु अघिल्लो रात ठमेलको नाइट क्लबमा भेटिएपछि राष्ट्रिय टिमबाट मात्रै हटाइएन, खेलमै ४५ दिन निलम्बनमा परेका थिए अन्जन । कारबाहीपछि मैदानमा पुनरागमन गर्दै उनले उत्कृष्ट प्रदर्शन गरे । नाम चलेका खेलाडीहरूलाई राख्न नसकेको मनाङको मुख्य खेलाडी नै बने उनी ।
अन्जनले ८ खेल खेले र त्यसमा ६ गोल पनि गरे । उनले मनाङको चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टारसहित एनआरटीविरुद्ध २–२ गोल गरे भने संकटा र पुलिसविरुद्ध १–१ गोल हाने । २२ वर्षीय उनले थप गोलको अवसर पनि सिर्जना गरे । उनको क्रस र पेनाल्टी क्षेत्रतर्फ बल लग्ने शैली आकर्षक हुने गर्छ ।

 


रन्जित धिमाल
(प्राप्त मत ः ५)
लेफ्ट–ब्याक, मछिन्द्र
खेल ः १३
गोल ः २
प्रतिद्वन्द्वी ः सुमन अर्याल, आर्मी (१)
शारीरिक रूपमा बलिया र निकै आक्रामक डिफेन्डर हुन्, रन्जित । उनले २०७० को लिगमा पनि मछिन्द्रबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसपछि थ्रीस्टार लागेका उनी यसैपालि मछिन्द्र फर्किए र करिअरकै उत्कृष्ट लयमा देखिए । उनले लिगका सबै खेलमा परिवर्तन नभई खेले ।
२८ वर्षीय उनको फ्रि–किक र कर्नर विपक्षीका लागि खतरनाक हुने गर्छ । सटीक क्रस गर्न पनि माहिर उनले यो लिगको ५ गोलमा एसिस्ट गरे । आफैंले पनि एपीएफ र पुलिसविरुद्ध गोल गरे । उपाधिको निर्णायक खेलमा आर्मीका विकास तामाङको आत्मघाती गोल पनि रन्जितकै फ्रि–किकमा भएको थियो । आश्चार्य के भने गत वर्षको लिगमा उनले भरत खवास र ओलावाले आफिजसँगै सर्वाधिक ७ गोल गरेका थिए । र, उत्कृष्ट डिफेन्डरको अवार्ड पाएका थिए ।

 

पिटर सेगुन
(प्राप्त मत ः ३)
सेन्टर–ब्याक, मछिन्द्र
खेल ः १२
गोल ः १
प्रतिद्वन्द्वी ः अनन्त तामाङ, थ्रीस्टार (४), देवेन्द्र तामाङ, मछिन्द्र (२), विकास खवास, आर्मी (१), अर्नेस्ट ताम्पी, संकटा (१), विक्रम लामा, थ्रीस्टार (१)
मछिन्द्रले लिगको १३ खेलमध्ये एक मात्र हार हिमालयन शेर्पाविरुद्ध बेहोर्‍यो । सातदोबाटोस्थ्ति एन्फा कम्प्लेक्समा २–० ले पराजित हुँदा दुवै गोलमा पिटर सेगुनको कमजोरी थियो । पहिलो मिनेटमै आफ्नै पोस्टमा गोल गरेपछि उनीप्रति शंका गर्न थालियो । तर, उनले अरू खेलमा राम्रो खेल प्रदर्शन गर्दै टिमको विश्वास मात्रै जितेनन्, लिगको उपाधि नै हात पारे ।
दुईपल्ट म्यान अफ द म्याच चुनिएका पिटरलाई उछिन्दै अगाडि बढ्न कुनै पनि डिफेन्सलाई सजिलो भएन । उनले फ्रेन्ड्सविरुद्ध ३–० को जितमा गोल पनि गरे । यी नाइजेरियाली डिफेन्डर थ्रीस्टारबाट यसैपालि मछिन्द्र पुगेका हुन् ।


अनन्त तामाङ
(प्राप्त मत ः ४)
सेन्टर–ब्याक, थ्रीस्टार
खेल ः १३
गोल ः ४
प्रतिद्वन्द्वी ः पिटर सेगुन, मछिन्द्र (३), देवेन्द्र तामाङ, मछिन्द्र (२), विकास खवास, आर्मी (१), अर्नेस्ट ताम्पी, संकटा (१), विक्रम लामा, थ्रीस्टार (१)
पहिलोपल्ट ए डिभिजन लिग खेलेका अनन्तले सबै खेलमा पूरा समय मैदानमै बिताए । उनको खेल पनि आक्रामक हुने गर्छ । विपक्षीलाई रोक्न मात्रै होइन, आफ्नो
टिमलाई जिताउन पनि उनी कुशल छन् । प्राविधिक रूपमा उनलाई राम्रो
डिफेन्डर मानिन्छ ।
उनले यो लिगमा ४ गोल पनि गरे । ती चारै खेलमा थ्रीस्टार पूर्ण अंक हात पारेको थियो । एपीएफ र संकटाविरुद्ध समान १–० को जितमा थ्रीस्टारका गोलकर्ता अनन्त नै थिए । २२ वर्षीय उनले ब्रिगेड ब्वाइज र च्यासलविरुद्ध पनि गोल गरे । उनी यो लिगकै उत्कृष्ट डिफेन्डर पनि घोषित भए ।

 

विकास खवास
(प्राप्त मत ः ४)
राइट–ब्याक, आर्मी
खेल ः १२
प्रतिद्वन्द्वी ः अजित भण्डारी, पुलिस (१), गौतम श्रेष्ठ, जावलाखेल (१)
अन्तिम खेलमा हार टार्न नसकेपछि उपाधि जित्न असफल आर्मी यो लिगमा सबभन्दा कम ७ गोल बेहोरेको टिम हो । आर्मीको डिफेन्सको कमान्ड यिनै विकासले सम्हालेका थिए । मैदानमा उनी निकै आक्रामक खेल्छन् । उत्तिकै आत्मविश्वासी देखिन्छन् । हरेक खेलमा उनको उपस्थितिमा प्रभाव देख्न सकिन्थ्यो ।
गत वर्षको लिगमै उदीयमान खेलाडीको अवार्ड पाएका १९ वर्षीय विकासले यो सिजन सबै खेलमा सेन्टरब्याकमा खेले । तर, प्रशिक्षकहरूले ‘ड्रिम टिम’ को छनोटमा उनलाई राइट–ब्याकमा मत दिए । उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले र्स्व्ण जित्दा राइट–ब्याकमै उत्कृष्ट प्रदर्शन गरेका थिए ।


येभेस प्रिसो
(प्राप्त मत ः ३)
गोलकिपर, थ्रीस्टार
खेल ः १३
बेहोरेको गोल ः ९
गोल नबेहोरेको खेल ः ७
प्रतिद्वन्द्वी ः विकेश कुथु, आर्मी (२), दीप कार्की, मनाङ (१)
यसपालिको ए डिभिजन लिगको एक मात्र विदेशी गोलकिपर हुन् प्रिसो । क्यामरुनका उनी गत वर्ष नकआउट फुटबलमा अफ्रिकी खेलाडीको समूहको नाम दिइएको दाउफिन्सबाट खेल्न नेपाल आइपुगेका थिए । उनले परिवर्तन नभई सबै (१३) खेल खेले । उनले सुरुका ३ र पछिल्ला ४ खेलमा विपक्षीलाई गोल गर्न दिएनन् ।
नाम चलेका खेलाडीहरूको कमी भए पनि थ्रीस्टारलाई चौथो स्थानमा पुर्‍याउन प्रिसोको प्रदर्शन महत्त्वपूर्ण रह्यो । उनी एउटा गोलकिपरको रूपमा सबै कौशल भएको खेलाडी मान्छन् थ्रीस्टारका प्रशिक्षक मेघराज केसी । प्रिसोको गोलपोस्ट सम्हाल्ने तरिका, बल नियन्त्रण र वितरण लिगमा उत्कृष्ट देखिएको थियो ।

कोसेली

ओस्कारमा इमिनेम !

- कान्तिपुर संवाददाता

सन् २००३ को ओस्कार अवार्डमा अनौठो भयो । ओस्कार इतिहासमै पहिलोपटक हिपअप गीतले ‘बेस्ट ओरिजिनल सङ’ को अवार्ड चुम्यो । गीत थियो, ‘लुज योरसेल्फ...’ । गायक थिए, इमिनेम । फिल्म थियो, ‘एट् माइल’ । मुख्य भूमिका पनि इमिनेमकै । कथा पनि र्‍यापरकै । त्यसैले यस फिल्मलाई इमिनेमको वास्तविक जीवनबाट प्रभावित मानिन्छ ।
र्‍यापले ओस्कार जित्नुजस्तै अचम्म के भइदियो भने अवार्ड ग्रहण गर्न इमिनेम स्वयं उपस्थित भएनन् । यस्तो घटना ओस्कारका हकमा बिरलै हुन्छ । इमिनेमको तर्फबाट उनका साथी लुइस रेस्टोले अवार्ड लिए । त्यतिबेला धेरैले सवाल गरे, इमिनेम किन उपस्थित भएनन् ? तर, न इमिनेमले जवाफ दिए, न ओस्कारले ।
१७ वर्षपछि इतिहास फर्किएको छ । यो वर्षको ओस्कार समारोहमा इमिनेम झुल्किए । झुल्किएनन् मात्र, गीत नै गाए । त्यो पनि अरू हो र, त्यही ‘लुज योर सेल्फ...’ । उनको प्रस्तुतिपछि एन्थोनी रामोस, ब्राड पिटदेखि लियोनाद्रो डिकाप्रियोसम्मका ठूला स्टारले उठेर लामो समय ताली बजाइरहे । अर्को अचम्म के भने इमिनेमले गाउँदै छन् भनेर कसैलाई थाहै थिएन । आयोजकले पूरै गुपचुप राखेको थियो । त्यसैले स्टेजमा र्‍यापका बादशाह इमिनेमलाई देख्नासाथ उपस्थित सबै सेलेब्रिटी अचम्भित भए ।
यसरी ‘सरप्राइज’ दिने योजना अरूको नभएर इमिनेमकै थियो । आयोजकसँग उनको सर्त नै थियो, यदि मिडिया वा अन्य माध्यमबाट आफूले गाउने खबर बाहिरियो भने पर्फमेन्स रद्द गर्न पाउने । ओस्कार आयोजकसँग सर्त स्विकार्नुको विकल्प थिएन । त्यसैले उनले रिहर्सल गरुन्जेल डब्ली थिएटर ‘लक्ड’ गरियो, ओस्कारका पनि सीमित सदस्यलाई थाहा दिइयो । योजना सफल भएपछि इमिनेम दंग भए । ट्विटरमार्फत ओस्कारलाई धन्यवाद दिएनन् मात्र, त्यहाँ पुग्न १८ वर्ष लागेकोमा क्षमा पनि मागे । ट्विटरमा उनलाई २ करोड ३० लाखले पछ्याएका छन् । उनले चाहिं कसैलाई पछ्याएका छैनन् ।
शून्य फलोइङ !
र, बल्ल त्यतिबेला इमिनेम ओस्कार नजानुको रहस्य खुलेको छ । ओस्कार कमिटीले ‘लुज योर सेल्फ...’ मा प्रयुक्त अश्लील शब्दहरू सेन्सर गराउन प्रस्ताव गरेपछि इमिनेमले इभेन्ट बहिष्कार गरेको चर्चा चलेको थियो । तर, उनले यसलाई अस्वीकार गरेका छन् । ओस्कारले यस्तो प्रस्ताव नगरेको उनको दाबी छ ।
खास कथाचाहिं यस्तो रहेछ ।
मनोनयमा त परे तर त्यसअगाडि र्‍यापलाई ओस्कारले बेवास्ता गरेकाले इमिनेमलाई आफूले पाउँछु भन्ने कल्पनै थिएन रे ! त्यसैले उनलाई लागेछ, ओस्कारमा जानु भनेको समयको बर्बादी हो । भेराइटी म्यागजिनसँग उनले भनेका छन्, ‘बरु घरमै छोरीसँग खेलेर बसें । टेलिभिजनमा समेत ओस्कार हेरिनँ ।’ तर, उता ओस्कार पाए । लगत्तै साथीको फोन आयो, केही समय उठाउँदै–उठाएनन्, बल्लतल्ल उठाए । जब साथीले ओस्कार जितेको खबर सुनायो, उनलाई जिस्काएझैं लागेछ, त्यसैले गाली गरेछन् । ‘ओस्कार पाइएला भनेर रत्तिभर आशा थिएन, त्यसैले मलाई साथीको कुरा पत्याउनै गाह्रो भएको थियो,’ उनले सम्झेका छन् ।
इमिनेमले ओस्कार पाएपछि मिडियाले लेखेका थिए, ‘अब इमिनेमले जित्न बाँकी केही छैन ।’ संगीतका लागि सर्वोच्च मानिने ग्रामी अवार्ड नै १५ पटक जितिसकेका छन् । अमेरिकन म्युजिक अवार्ड र बिलवर्ड म्युजिक अवार्ड क्रमशः आठ र १७ पटक जिते । गत जनवरी १७ मा उनको नयाँ एल्बम सार्वजनिक भएको छ, ‘म्युजिक टु बी मडर्ड बाई’ । यसले अवार्डको संख्या थप्नेमा शंका छैन । यस वर्षको अमेरिकाको सबभन्दा ठूलो म्युजिक एल्बम हो यो । बिक्रीका आधारमा यूके, अस्ट्रेलियासहित १५ देशमा नम्बर वानमा पुगेको छ । सायद त्यत्तिकै भनिएको होइन, ‘इमिनेम र्‍यापको त्यस्तो तारा हो, जो कहिल्यै अस्ताउने छैन ।’
– गोकर्ण गौतम

Page 24
कोसेली

बर्लिन डायरी

मन नपरेका सबै चीज नराम्रै थिए भन्ने होइन । धेरैलाई मन परेपछि बजारले त्यसलाई उठाउँछ, बजारलाई स्वादसँग होइन संख्यासँग मतलब हुन्छ ।
- यज्ञश

 

मानिसहरू यसै भुइँमा सुतिरहेका छन्— महिला, पुरुष । हामी कतै जाने भयौं भने सबैभन्दा पहिले होटल कहाँ बस्ने होला ? कति महँगो होला ? सकेसम्म नेपाली नभए इन्डियन रेस्टुरेन्ट कतातिर नजिकमा होला भनेर खोज्छौं । गुगलमा ‘इन्डियन रेस्टुरेन्ट नियर मी’ सर्च गर्‍यो अनि त्यतैतिर मार्च गर्‍यो ।
यिनलाई भने केही मतलब छैन । झोला उठायो हिँड्यो । कतै रेल स्टेसनमा सुतेका छन्, कतै रातभर बसमै निदाउँदै यात्रा गरेका छन् । केही सीप नलागे रातभरि कुनै बार वा डिस्कोमा बसिदिन्छन्, १० युरोको ड्रिंक्स लिएर । १००/२०० युरोको होटल कसले खर्च गरोस् !
अनि म सोच्छु, झोला बोकेर जहाँ पनि हिँड्न सक्ने आत्मविश्वास यिनमा जगाउँछ केले ? हामीमा त्यो आत्मविश्वास किन छैन ? यसका केही कारण छन् । जस्तै ः भाषा, घुम्ने संस्कृति, व्यक्तिगत स्वतन्त्रता, आर्थिक समृद्धि र सबभन्दा ठूलो यिनको पैसाको मूल्य ! कुनै देशका नागरिकको सामूहिक आत्मविश्वास र शक्ति बढ्नका लागि त्यो देशको अर्थतन्त्र बलियो हुनैपर्छ । कोरोनाको चपेटामा पर्नुअघिसम्म चिनियाँले संसार डुलेको देख्ने जो–कोहीले यो कुरा बताउन सक्छ । अमेरिकीको घुमाइ हेरेर पनि यो बताउन सकिन्छ । तिनै सबभन्दा धेरै बोल्ने, सोच्ने, प्रयोग गर्ने र घुम्ने हुन सक्छन्, जसको आर्थिक हैसियत बलियो छ । केही सय वर्षपहिले सायद त्यो हैसियत एसिया र दक्षिण एसियाको थियो । इतिहास र साहित्यले त्यही जनाउँछ ।
ल ल ल
लामो यात्रामा हिँड्दा बल्ल तपाईंलाई आफ्ना खास रुचि र खुबीबारे थाहा हुन्छ । मलाई युरोप डुल्नुअघि सहरहरूको नक्सा बोकेर एक्लै नयाँ ठाउँमा हिँड्न सक्छु भन्ने थाहा थिएन । चेकको प्रागमा साँझ डुब्न लाग्दा झन्डै हराएको म रातको १ बजे बर्लिन सहर आइपुगेको थिएँ । सहरको मुख्य स्टेसन ‘हउफ बानहउफ’ बाट सिटी बस चढेर होटल पुग्दा सिमसिम पानीले भिजेको सडकमा म एक्लो थिएँ । सुनसान रातमा मनमा अनेक भाव आउँछन् । कुनै जमानामा हेरेका भूतका फिल्मदेखि चोर र हत्याराहरूका कथा यस्तै बेला याद आउँछन् । बर्लिन फिल्म फेस्टिभलमा देखाइने राति १० बजेको सो हेरेर फर्किंदा पोहोर यस्तो निकैपटक भयो ।
फिल्मको दृश्य–प्रभाव कति बलियो हुन्छ भन्ने कुरा यस्तै बेला बोध हुन्छ, जब सुनसान अन्डरग्राउन्ड ट्रेन स्टेसनको पल्लो कुनाबाट एक्कासि ‘झ्याङ’ सँग पियानो वा गितारको झंकार सुनिन्छ । यस्तो लाग्छ, पल्लो कुनाबाट दोस्रो विश्वयुद्धमा मरेको कुनै जर्मन सिपाही हातमा छुरी लिएर आउँदै छ । आखिर बर्लिन त्यही सहर हो, जहाँ विश्वयुद्धको सबभन्दा घमासान युद्ध भएको थियो । यहाँ हजारौंले ज्यान गुमाएका थिए ।
शरीरमा एकैचोटि भुरुरुरु काँडा उम्रिन्छन् । खुट्टा आफैं रोकिन्छ । हालत बल्छीको अंकुशेमा अड्काएको गँड्यौला निलिरहेको माछाको जस्तो हुन्छ । न त्यसलाई निल्क सकिन्छ, न उकेल्न ।


जे त पर्ला भनी हिम्मत गरेर अगाडि
बढ्दा देखिन्छ, रे चार्ल्सजस्तो कुनै अफ्रिकी मानिस पियानोअगाडि बसिरहेको छ । ट्रेन स्टेसनमा यात्रीलाई आफ्नो कला देखाएर र सुनाएर पैसा उठाउनु उसको दैनिकी हो । केही दिन लगातार यो रेको पियानो मध्यराति सुनेपछि बल्ल थाहा भयो, ट्रेनबाट झरेर मानिस आफूतिर आउँदै गरेको थाहा पाएपछि उसले आफ्नो उपस्थिति जनाउन झंकार दिँदो रैछ, भक्तले मन्दिरमा आफू आइपुगेको भगवान्लाई थाहा दिन घण्ट बजाएजस्तो ! यो रे चार्ल्समा अर्को चीज अनौठो थियो, यो राति पनि कालो चस्मा लगाएर बस्थ्यो । अनि मैले अनुमान गरें, यो पनि रेजस्तै दृष्टिविहीन होला !
यसपालि बर्लिन फिल्म फेस्टिभलको ७० औं एनिभर्सरी इडिसन हो । दोस्रो दिन मुख्य टिकट काउन्टरनेर पुग्दा मानिसहरू भुइँमा सुतिरहेका थिए । यिनले आफ्नो स्लिपिङ ब्याग पोको पारेर झोलामा हालेका थिए । अहिले त्यही फिँजारेर सपिङ मलभित्र सुतिरहेका थिए । सस्तो क्रोसेन र स्यान्डविच नभए कुनै कुसकुस र सलाद टाइपको लन्चमा यिनको पूरा दिन बित्छ । कहिलेकाहींचाहिँ एभोकाडोको अचार भएको पिरो मेक्सिकन डिनर ! थोरै पैसामा एक्लै हिँड्न यी डराउँदैनन् । न त खुला ठाउँमा स्लिपिङ ब्याग फिँजाउन लाज मान्छन् ।
एक्रिडेन नाम गरेको यो मलको एउटा छेउमा टिकट काउन्टर छ । बिहान ८ बजे काउन्टर खुल्छ । तर, मानिसहरू यहाँ ६ बजेदेखि नै लाइन लागिसकेका छन्, पैसा तिरेर टिकट किन्न । टिकट किन्नमात्र होइन, फिल्म हेर्न पनि उस्तै लाइन छ । फिडरिचस्टाड पलास्ट बर्लिनको पुरानो सिनेमा हल हो । झन्डै १८ सय दर्शक अटाउने यो हलमा बर्लिनमा देखाइने मुख्य फिल्महरूको वर्ल्ड प्रिमियर हुन्छ । गत वर्ष बलिउडको ‘गल्ली बोई’ को यहाँ भएको सोमा रणवीर सिंह, आलिया भट्ट र निर्देशक जोया अख्तर उपस्थित थिए ।
यसपालि फेस्टिभलको ओपनिङ फिल्म ‘माई सेलिन्जर इयर्स’ को दोस्रो सो हुँदै थियो । १०ः३० को सोका लागि मानिसहरू ९ बजेदेखि हलबाहिर लामबद्ध थिए । हड्डीसम्म पुग्ने गरी चिसो हावा चलिरहेको छ । चलिरहेको के, दगुरिरहेको छ । आकाशका बादल हेर्दा एक छिनमा पानी पर्लाजस्तो छ । तैपनि, मानिसहरू चिसो सडकमा अनुशासनबद्ध भएर लाइन बसिरहेका छन् । झन्डै एक घण्टा लामबद्ध भएपछि ढोका खुल्यो । यस्तो लाग्थ्यो, यो कुनै मन्दिरको ढोका हो र भित्र कुनै इच्छा कामना पूर्ति गर्ने शक्ति भएका भगवान् बसिरहेका छन् । उनको दर्शन गरी मनको कुरा माग्नलाई मानिसहरू लाइन बसेका हुन् ! आखिर फिल्म हललाई पनि त हामी चलचित्र मन्दिर भन्छौं !
हलभित्र मानिसको चर्को कल्याङ्मल्याङ् छ । तर, जसै हलको लाइट डिम भयो, एक्कासि सबै मौन, ‘पिन ड्रप साइलेन्स’ ! सोभरी एक जनाको पनि मोबाइल बज्दैन ।
सायद यो सिनेमाको शक्ति हो कि मानिसहरू टाढाटाढाबाट आफ्ना सुविधाको वास्ता नगरी यहाँ आइपुगेका छन् ।
‘माई सेलिन्जर इयर्स’ उम्दा फिल्म थियो । ‘क्याचर इन द रे’ का लेखक जेडी सेलिन्जरकी साहित्यिक एजेन्टकी सहायकको संस्मरणमा आधारित यो फिल्म ९० को दशकको न्युयोर्कको साहित्य सर्कलको कथा हो । मानिसहरू उपन्यास र लेखकहरूका फ्यान थिए । आफ्नो प्रिय लेखकलाई पानाका पाना चिठ्ठी लेख्थे, जो खासमा लेखकको हातमा नपुगी एजेन्टको अफिस पुग्थ्यो । र, एजेन्टका सहायकले त्यसको जवाफ दिन्थे । यो सहायक एजेन्ट आफैं उपन्यास लेख्ने चक्करमा छ । साहित्यप्रेमीका लागि यो फिल्म उपहार हुनेछ ।
फिल्म हेरेर ग्य्रान्ड हायातमा रहेको प्रेस सेन्टरतिर जाँदै थिएँ, बाटोमा झुरुप्प भीड देखियो । अचानक मानिसहरू चिच्याएको चर्को आवाज आयो । अलि नजिक जाँदै मैले अनुमान गरें, पक्कै कुनै स्टार आएको होला र तिनका फ्यान चिच्याएका होलान् । फिल्म फेस्टिभल र प्रिमियरमा प्रायः यस्तो होहल्ला हुन्छ ।
हो रहेछ, स्टार नै रैछन् । तर, यी मैले सोचेभन्दा ठूला स्टार रैछन्— जोनी डिप । स्वयं क्याप्टेन ज्याक स्प्यारो ‘मिनामाता’ नामक यिनको अंग्रेजी र जापानी फिल्मको वर्ल्ड प्रिमियर रैछ । फ्यानहरू ‘जोनी जोनी’ भन्दै चिच्याइरहेका थिए । हातभरी ट्याटु गरेका जोनी ज्याक स्प्यारोजस्तै ‘ह्याट’ मा थिए । दुइटा अजंगका बडीगार्डले समातेर उनलाई फ्यानका बीच पुर्‍याए । उनीहरूले जोनीलाई फ्यान एरियाको एक फन्को लगाए । ज–जसले कापी लिएर बसेका थिए, तिनले अटोग्राफ पाए । जसले क्यामेरा लिएका थिए तिनले फोटो । सेल्फीका लागि रोकिने समय भने उनीसँग थिएन । मलाई भने बडीगार्डले जोनीलाई तानेर घुमाएको देख्दा अचम्म लाग्यो । उनीहरूले जोनीका पाखुरा च्याप्प समाएका थिए । उनीहरूले जोनीलाई तानेको होइन, जुरुक्कै उचालिरहेका थिए । मानौं पुलिसले कुनै झ्याप भएको जँड्याहालाई बीच बाटोबाट हटाइरहेको होस् ! प्रेस कन्फरेन्स रूममा एउटा डेनिस फिल्मको सम्मेलन चलिरहेको थियो । यसमा खासै पत्रकार थिएनन्, पोहोर हिन्दी फिल्म ‘फोटोग्राफर’ को नभएजस्तै ! केही डेनिस पत्रकार थिए । म यहीँ बसेर यो डायरी लेख्दै थिएँ, अचानक होहल्ला भयो । मानिसहरू यसरी हलमा छिरे, मानौं बाहिर कसैले नांगो तरबार नचाइरहेको छ र यी ज्यान बचाउन दौडिइरहेका हुन् ! एकै छिनमा थाहा भयो, यो हलमा क्याप्टेन स्यारोको सवारी हुँदै रहेछ । धेरै भीड भएपछि यहाँ लेख्ने माहोल भएन । म प्रेस सेन्टरतिर छिरें ।

सोडाका ॅटेन कमान्डमेन्ट्स’
एउटा डकुमेन्ट्री हेर्ने पालो भएको छ, जापानी । यसको नाम हो— सेसिन जिरो । निर्देशकको नाम काजुहिरो सोडा ।
मिस्टर सोडा निकै रोचक रहेछन्, उनको डक्युमेन्ट्रीजस्तै । यो डक्युमेन्ट्री रिटायर्ड भइरहेका मानसिक चिकित्सकको कथा थियो, जसलाई अन्तिमपटक हस्पिटलमा भेट्न उनका पुराना बिरामीहरू आइरहेका छन् । यी वृद्ध चिकित्सक कुनै प्राविधिक कम, चिन्तक र दार्शनिकजस्ता बढी छन् । उनी आफ्ना बिरामीहरूलाई जीवनमा कसरी इच्छा र लालसाहरूलाई कम गर्ने भन्ने सिकाउँछन् । उनको सिद्धान्त छ— अनावश्यक इच्छा गर्नु जीवनलाई तनावग्रस्त बनाउनु हो । यो संसारमा मानिसको मन र शरीरको पहिलो नम्बरको शत्रु कोही छ भने त्यो तनाव हो ।
उनी आफ्ना एक बिरामीलाई भन्छन्, ‘हप्ताको एक दिन केही नगर । काम नगर, कुनै योजना नबनाऊ, मासु नखाऊ । यो एक दिन तिमी कुनै आकांक्षा र आशाबिना बिताऊ । कतिसम्म भने, यदि कसैले थप्पड लगायो भने पनि नफर्काऊ । बरु सोच, म जिउँदै रहेछु र पो यसले थप्पड हान्दा दुख्यो, मरेको भए कहाँ दुख्थ्यो ! जीवित हुन पाएकोमा धन्य होऊ । पृथ्वीमा धेरै प्राणी बाँच्नै नसकेर विलुप्त भएका छन् तर तिमी अहिलेसम्म छौ ।’
निर्देशक सोडाले यसअघि यिनै वृद्ध डाक्टरलाई लिएर बनाएको मानिसक स्वास्थ्यसम्बन्धीको डक्युमेन्ट्री ‘मेन्टल’ पनि बर्लिनमा देखाइएको थियो । सोडाको फिल्म बनाउने आफ्नै शैली छ– ‘अब्जरभेसनल सिनेमा’ । यो शैलीको विशेषता के हो भने यसमा फिल्ममेकरले कुनै टिप्पणी गर्दैन । न कुनै न्यारेसन हुन्छ न पात्रको अन्तर्वार्ता । फिल्ममेकर आफैं क्यामेराजसरी उपस्थित हुन्छ । फिल्म खिचिरहेको छ भन्ने कुरा चरित्रहरूलाई पहिले नै जानकारी दिइन्छ । र, उनीहरूको त्यसमा कस्तो प्रतिक्रिया हुन्छ, त्यो पनि समावेश गरिन्छ । सोडाको यो नवौं अब्जरभेसनल फिल्म हो । भिजुअल एन्थ्रोपोलोजीमा विज्ञता हासिल गरेका मित्र फिडेल देवकोटा यो फिल्म र शैलीबारे निकै उत्सुक थिए । उनले सोडाको प्रशंसा पनि गरे ।
सोडाले फिल्म बनाउनका लागि १० वटा नियम बनाएका छन्, जसलाई उनी ‘टेन कमान्डमेन्ट्स अफ फिल्म मेकिङ’ भन्छन् । यसको पहिलो नियम हो— नो रिसर्च । अर्थात् फिल्म बनाउनुअघि उनी त्यसको विषय वा पात्रबारे कुनै अध्ययन गर्दैनन् । उनी भन्छन्, ‘मेरो फिल्म नै रिसर्च हो । पहिले नै सबै कुरा पत्ता लगाइयो भने फिल्ममा सबै कुरा नक्कली हुन्छन् ।’
उनको दोस्रो नियम हो— नो स्क्रिप्ट । स्क्रिप्टमा बाँधिएर होइन, खुला भएर खिच्ने । तेस्रो नियमले भन्छ— क्यामेरा रोल गरेर हेर, के हुन्छ । खालि ‘अब्जर्भ’ गर र आफैं अचम्भित होऊ । चौथो– क्यामेरा आफैं चलाऊ । पाँचौं– जति लामो सक्छौ खिच, काट्ने कुराको चिन्ता खिच्दा नलिऊ । छैटौं नियमले भन्छ— सानो क्षेत्रलाई गहिरोसँग खिच । सातौं– समापनअघि दृश्यको कुनै लक्ष्य वा उद्देश्य बनाएर नजाऊ । त्यसो गर्‍यो भने दृश्यमा भएका चीज पनि देखिँदैन । आठौं नियम– न्यारेसन, भ्वाइसओभर, सुपर इम्पोज्ड अक्षर र ब्याग्राउन्ड म्युजिकलाई प्रतिबन्ध गर । दर्शकले कुन कुरा र दृश्यलाई कसरी बुझ्ने त्यो तिमीले भन्ने होइन, दर्शकलाई नै त्यसको जिम्मा देऊ ।
अन्तिमका दुई नियमचाहिँ यस्ता छन्— आफ्नै सामग्री प्रयोग गर । आवाज दिनुपरे आफैं बोल । अन्तिम नियमचाहिँ सबभन्दा कडा छ, जुन सोडाकी पत्नी कियोकोलाई कत्ति मन पर्दैन । सोडाले यसबारे बताउँदा प्रिमियरमा उपस्थित निर्माता कियोको हाँसिन् मात्र । यो नियम हो— निमार्णको खर्च आफैं बेहोर, लगानीकर्ता खोज्न नहिँड ।

र, नीलो समुद्रको खोजीमा
सन् २०१८ मा मैले स्विट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा अन्तर्वार्ता लिएका चिनियाँ निर्देशक जिया जांके । जांके अहिले बर्लिनमा भेटिए । आफ्नो नयाँ डक्युमेन्ट्री फिल्म ‘स्विम इट आउट टिल द सी टर्न्स ब्लु’ का साथ बर्लिन आएका थिए । यसका साथै नयाँ पुस्ताका चिनियाँ निर्देशक हो मेङका साथ उनको संवाद पनि थियो । संवादपछि मेङको फिल्म ‘क्रसिङ द बोर्डर’ को सो ।
संवादस्थल भरिभराउ भएपछि जिया र मेङ स्टेजमा प्रकट भए । मन्डारियनमा हुने यो संवादको अंग्रेजी वा जर्मनमा अनुवाद चाहनेका लागि हेडफोन उपलब्ध गराइएको थियो ।
संवादमा फिल्मका लागि लगानी कसरी खोज्नेदेखि कसरी बेच्नेसम्मका कुरा आए ।
जिया जांकेले एक ठाउँमा पुगेपछि भने, ‘तपाईंको फिल्म सबैले मन पराउने हुनु हुँदैन । किनभने सबैले मन पराउनु भनेको एस्थेटिकल्ली त्यो पूरै केन्द्रीकृत हुनु हो र त्यसले एक खाले विचार बोक्नु हो ।’ संसार सबैले मन पराउने फिल्मको सूत्रको खोजीमा दौडिइरहेका बेला यी भन्छन्, ‘सबैले मन पराउने बनाउनु भनेको बेकार हो !’
फिल्म व्यक्तिगत हो कि सामूहिक ? कला हो कि व्यापार भन्ने बहस चली नै रहेको छ । कला फिल्मका पक्षधरले भन्दै आएका छन्, ‘फिल्म व्यक्तिगत हुनुपर्छ, यदि त्यो कला हो भने । बजारका लागि गरिएको उत्पादन हो भने एउटा निश्चित फ्रेममा हुनुपर्छ । एउटै आकारका इँटा फ्याक्ट्रीबाट निस्किएजस्तो वा एउटै आकारका जुत्ता–मोजा बनाएजस्तो ।’ एक छिन विचार गर्दा लाग्छ— मान्छेले नयाँ चीज मन नपराउन सक्छ । किनभने, त्यसको स्वादै थाहा हुँदैन । उदाहरणका लागि धेरै नेपालीलाई सुरुमा खाँदा एभोकाडो मन नपरेको थाहा हुन्छ । बिस्तारै मन पर्‍यो । र, अहिले त बजारमा सबभन्दा धेरै खोजिने र बिक्ने चीज भयो । यसको दुइटा अर्थ छ । एक– मन नपरेका सबै चीज नराम्रै थिए भन्ने होइन । र, दोस्रो– धेरैलाई मन परेपछि त्यो बजारले त्यसलाई उठाउँछ, बजारलाई स्वादसँग होइन संख्यासँग मतलब हुन्छ ।
यो कुरालाई यसरी बिट मारौं— अभिव्यक्ति व्यक्तिको मनको कुरा हुनाले त्यो मौलिक हुन्छ, यसको आफ्नो भाषा हुन्छ । देशको नक्सा त एउटै हो तर कक्षाका सबै विद्यार्थीले हातले कोर्दा त्यो उस्तै हुँदैन । कतै हिमाल अझै अग्लिन्छ, कतै पहाड अलि बांगिन्छ । तर, जब त्यही नक्साको फोटो खिचिन्छ वा फोटोकपी गरिन्छ अथवा प्रिन्ट गरिन्छ, त्यो एउटै हुन्छ, पूर्ण हुन्छ । सवालचाहिँ नक्सा आफ्नै हातले बनाउने कि अरूले बनाएको गज्जब मिलेको किन्ने भन्ने हो । यी दुईमध्ये रोज्न हरेक व्यक्ति स्वतन्त्र छ ।
हलमा झन्डै ९० प्रतिशत उपस्थित चिनियाँ थिए । अचम्म त के भने मैले जर्मनी ओर्लिएदेखि नदेखेको मास्क पनि यहाँ देखें । एक चिनियाँ युवती मास्क लगाएर बसिरहेकी थिइन् । यो मास्कले दिमागमा फेरि कोरोना भाइरसको डर र मैले नेपालदेखि सुटकेसमा हालेर ल्याएका मास्कको सम्झना गरायो ।
संवाद सकेर फिल्म सुरु हुने बेला भयो । संवाद सुन्न अघि आएकाहरू उठेर पछाडि जान थाले । अगाडि अरू नै आए । दिमागमा कोरोनाको त्रास उत्पन्न भइसकेको थियो । एक चिनियाँ युवायुवतीको जोडी मेरो छेउमा आएर बसे । बस्नासाथ यिनले हाछ्युँ र सिँसिँको सिलसिला सुरू गरे । मेरो ध्यान फिल्मभन्दा बढी यिनको हाछ्युँले तान्न थाल्यो । केही बेरमा सायद यिनलाई पनि फिल्म हेर्न पछाडिकै सिट ठीक लाग्यो कि, यी उठेर गए ।
फिल्म हेरेर निस्किँदा बाहिर बेस्कन पानी परिरहेको थियो । पानीमा रुझ्दै ट्रेन स्टेसनतिर आउँदा मैले सोचें— ती युवा चिनियाँहरू पक्कै पनि यतै पढिरहेका व्यक्ति होलान् । यो चिसो मौसममा रुघाखोकी लाग्नु सामान्य हो, म त्यसै डराएँ । फेरि लाग्यो, ती चिनियाँ नै हुन् भन्ने पनि के ग्यारेन्टी ? कोरिया, जापान वा अन्य एसियाली देशका पनि त हुन सक्छन् ! न मैले उनीहरूलाई सोधेको थिएँ, न भाषा नै बुझ्थें ! अनि मेरो मनको कोरोना डर बिस्तारै हराएर गयो । जिया जांकेको पात्र नीलो समुद्रको खोजीमा गएजस्तै ! अमेरिकाबाट फेस्टिभलमा आएका नेपाली फिल्ममेकर दीपक रौनियारसँग भेट भयो । उनले सुनाए, ‘कोरोनाका कारण यसपटक फेस्टिभलमा चीनबाट खासै कोही फिल्ममेकर आएनन् ।’ जति थिए ती पहिले नै चीनबाहिर रहेका थिए ।