You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

प्रत्यारोपित मिर्गौलाले काम थाल्यो

- अतुल मिश्र
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएपछि बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रा.डा. प्रेम ज्ञवालीलगायतको चिकित्सा टोली । तस्बिर ः कबिन अधिकारी/कान्तिपुर

(काठमाडौं) - प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरेको छ । प्रत्यारोपणपछि आईसीयूमा सारिएका ओलीको स्वास्थ्य सूचक राम्रो रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए । उनका अनुसार मिर्गौला दिएकी उनकी भान्जीको अवस्था सामान्य छ ।
शल्यक्रियापछि होस खुले पनि उच्च मात्रामा दुखाइ कम गर्ने औषधिहरू दिइएकाले ओली बुधबार राति निद्राको स्थितिमा थिए । मिर्गौला प्रत्यारोपणमा संलग्न टिमका एक चिकित्सकका अनुसार ओलीको प्रत्यारोपित मिर्गौला वरिपरि राखिएको पाइपलाई पेट बाहिर निकालिएको छ । रक्तस्राव भए वा पिसाब चुहिए पेटभित्र जम्मा हुन नदिन राखिएको पाइप सुधारको अवस्था हेरेर तीन–चार दिनमा निकालिने उनले बताए ।
‘अबको २४ घण्टामा साधारणतया प्रत्यारोपण गरिएको नयाँ मिर्गौलाले ५
देखि १० लिटरसम्म पिसाब निकाल्न सक्छ,’ बुधबार साँझ उनले भने, ‘पिसाब राम्ररी निस्किनुपर्‍यो, त्यसपछि विस्तारै पिसाबको मात्रा दिनहुँ ३–४ लिटरसम्म झर्न सक्छ ।’ नयाँ मिर्गौलाले काम गर्न थालिसकेको उनले बताए । ‘हामीले अहिले शरीरको प्रतिरोधात्मक शक्तिलाई शिथिल पार्ने (इम्युनो सप्रेसेन्ट) औषधिको मात्रा पहिलेभन्दा बढाएका छौं,’ उनले भने ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूका लागि २४ घण्टा अर्थात् पहिलो दिन सबैभन्दा बढी महत्त्वपूर्ण हो, यसपछि एक साता महत्त्वपूर्ण हो ।’ हाल २४ घण्टामा ओलीको शरीरमा कति पिसाब बन्छ, त्यसअनुसार नै थप उपचार प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
‘हामीले सघन उपचार कक्षमा प्रधानमन्त्रीज्यूको शरीरको प्रत्येक सूचकांकलाई नजिकबाट नियमित अवलोकन गरिरहेका छौं,’ टोलीमा संलग्न अर्का चिकित्सकले भने, ‘अवलोकनअन्तर्गत उहाँको शरीरले दिएको प्रतिक्रियाअनुसार उपचार प्रक्रिया बढाइरहेका छौं ।’ हाल न्यूनतम एक सातासम्म दिनदिनै स्वास्थ्य अवस्थालाई सूक्ष्म रूपले हेरिने उनले बताए ।
साढे चार घण्टा लागेको शल्यक्रियामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल सहभागी थिए । भारतका मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक प्रा.डा. अनन्त कुमार पनि टोलीमा सामेल थिए ।
प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिघन श्रेष्ठ, डा. रविन नेपाली र डा. सन्तोष क्षेत्रीका साथै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा.डा. सुवास आचार्य, डा. अमित शर्मा भट्टराई, डा. विगेनमान शाक्यको सहभागिता रहेको अस्पतालले जनाएको छ ।
पछिल्लो पटक मिर्गौलाको समस्या आएयता करिब आठ महिनादेखि प्रधानमन्त्री ओली विभिन्न परीक्षणसँगै उपचार प्रक्रियामा थिए । करिब तीन महिनाअघि उनको प्रत्यारोपण गर्ने तयारी भइरहँदा एक्कासि एपेन्डिसाइटिसको संक्रमण देखिएपछि प्रक्रिया स्थगित गरिएको थियो । त्यसताका एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

एकै दिन तीन महिलाले गरे मिर्गौला दान
बुधबार तीन जना महिला दाताले दुई जना पुरुष र एक जना महिलालाई मिर्गौला दान गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी भान्जीले मिर्गौला दान गरेकी हुन् । यसअघि पहिलो प्रत्यारोपणमा समेत उनलाई नाताले बुहारी पर्ने अन्जानले मिर्गौला दान गरेकी थिइन् । बुधबारै भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई जना महिलाले एक जना पुरुष र एक जना महिलालाई मिर्गौला दान गरेका छन् । केन्द्रमा गरिएको निःशुल्क प्रत्यारोपणमा आमाले २१ वर्षे छोरीलाई र श्रीमतीले ३५ वर्षीय श्रीमान्लाई मिर्गौला दान दिएर ज्यान जोगाएका हुन् । भक्तपुरमा गरिएको उक्त प्रत्यारोपण डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको थियो ।

मुख्य पृष्ठ

‘चार–पाँच दिनमै डिस्चार्ज हुन सक्छ’

- कान्तिपुर संवाददाता

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका
प्रा.डा. प्रेम ज्ञवालीसँग कान्तिपुरका स्वरुप आचार्यले गरेको कुराकानी :


शल्यक्रियापछि प्रधानमन्त्रीको अवस्था अहिले कस्तो छ ?
उहाँको अवस्था अहिले सामान्य छ । होस आइसकेको छ । कुरा गर्न सक्नुहुन्छ । तर आरामका लागि हामीले उहाँसँग कुराकानी गरेका छैनौं । उहाँ चिकित्सकहरूको निगरानीमा हुनुहुन्छ । सबै भाइटल्स ठीक छन् । प्रेसर र अक्सिजनको मात्रा ठीक छ । प्रत्यारोपित मिर्गौलाबाट पिसाब पनि भइरहेको छ ।

यही रफ्तारमा रिकभरी भए उहाँ कति दिनमा डिस्चार्ज हुन सक्नुहुन्छ ?
सबै कुरा सामान्य रहेर यही रफ्तारमा रिकभरी भयो र बीचमा केही जटिलता आएन भने हामी उहाँलाई आइतबार वा सोमबारसम्ममा डिस्चार्ज गर्न सक्छौं ।

दातालाई कहिले डिस्चार्ज गर्नुहुन्छ ?
अवस्था सामान्य रहे दातालाई पनि शनिबार/आइतबार डिस्चार्ज गर्छौं ।
प्रत्यारोपण गर्दा मुख्य डर के थियो ?
हामीले प्रत्यारोपण गरेको मिर्गौलामा रक्तसञ्चार भइसकेपछि त्यसले काम गर्छ कि गर्दैन भन्ने थियो । अहिले पूर्ण रूपमा काम गरेर पछि त्यो बन्द पनि हुन सक्छ । तर अहिलेलाई त्यो डर हटेको छ । बिहानीले दिन कस्तो हुन्छ भन्ने संकेत गर्छ भनेझैं सबै राम्रो हुन्छ भन्नेमा हामी आशावादी छौं ।
दाताबाट झिकिएको मिर्गौला प्रधानमन्त्रीको शरीरमा जोड्न कति समय लाग्यो ?
हामीले मुख्य नसाहरू (आर्टरी र भेन) जोड्ने काम ३९ मिनेटमा सक्यौं । त्यसपछिको कार्य भनेको समय लिएर गर्न मिल्ने कुरा हो ।
दाताबाट मिर्गौला कसरी झिक्नुभयो ?
हामीले दाताको ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरेर मिर्गौला झिकेका हौं ।

त्यसो गर्दा दाताको रिकभरी समय छोटो र सहज हुन्छ । हामीले यहाँ दाताबाट मिर्गौला झिक्दा ल्याप्रोस्कोपिक विधि नै प्रयोग गर्न थालेका छौं । यो विधिबाट दाताको शल्यक्रिया गरिएको उहाँ ३३/३४ औं हो । पहिला ठूलै घाउ बनाएर गर्थ्यौं ।

दोस्रो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा के के हुन् ?
मिर्गौला प्रत्यारोपण पहिलो पटक भए पनि दोस्रो पटक भए पनि बिरामीले संक्रमणहरूबाट जोगिनुपर्छ । संक्रमण फोहर कुरा चलाएर मात्र हुँदैन, मान्छेको भीड र श्वासबाट पनि हुनसक्छ । उहाँले कुनै पनि प्रकारको संक्रमण निम्त्याउनुभएन ।

मिर्गौला प्रत्यारोपण गर्दा दुई जनाको लगभग एकैसाथ शल्यक्रिया हुन्छ । तपाईंहरूको टिमको कुन सदस्यले कतातिरको शल्यक्रिया गर्नुभयो भन्न मिल्छ ?
त्यो सबै टिमवर्क हो । दुइटा टिम बनाएर काम गरेका थियौं । मचाहिँ प्रधानमन्त्रीतिर थिएँ । अर्को टिम दातातिर थियो ।
भारतबाट आउनुभएका विशेषज्ञ डा. अनन्त कुमारको यो प्रत्यारोपणमा के भूमिका थियो ?
सरकार प्रमुखको प्रत्यारोपण भएकाले हामी सबैजना प्रेसरमा थियौं । मिडिया, जनता र आफ्नै सहकर्मीबाट पनि प्रेसर हुन्छ । सबैले शुभकामना, शुभकामना भन्दा झनै प्रेसर हुन्छ । त्यसैले हामीले उहाँ (डा. अनन्त कुमार) लाई आवश्यक परिहाल्यो भने सहयोग गर्नका लागि बोलाएका थियौं । उहाँले प्रधानमन्त्रीज्यूको पहिलो प्रत्यारोपण पनि गर्नुभएको थियो । त्यसैले उहाँ दाताबाट मिर्गौला झिक्ने र प्रत्यारोपण गर्ने दुवै कार्यमा सरिक हुनुहुन्थ्यो । भनाइको मतलब ‘स्क्रब’ (शल्यक्रिया गर्नका लागि तयारी अवस्था) मै हुनुहुन्थ्यो । मुख्य रूपमा भने सबै काम हाम्रो डिपार्टमेन्टकै साथीहरूले गर्नुभएको हो ।
डा. अनन्त कुमारसँग अरू पनि चिकित्सक हुनुहुन्थ्यो ?
उहाँसँग एकजना मिर्गौला रोग र एकजना संक्रमणरोग विशेषज्ञ पनि आउनुभएको छ । उहाँहरूले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई नजिकबाट हेरिरहनुभएको छ । कुनै बेला उहाँहरूको सहयोग चाहियो भने परामर्श लिन्छौं । हामीलाई शल्यक्रिया गर्दा जति प्रेसर थियो, त्यति नै प्रेसर अब मिर्गौला रोग विशेषज्ञहरूलाई पनि छ ।
शल्यक्रिया कति बजे सुरु भयो र कति घण्टा लाग्यो सबै काम सक्न ?
हामीले उहाँलाई १० बजेतिर शल्यक्रिया कक्षभित्र लगेका थियौं । शल्यक्रिया साढे १० बजे सुरु गर्‍यौं । दुइटा शल्यक्रिया ‘साइड बाई साइड’ गरिएको थियो । सम्पूर्ण प्रक्रिया सक्न साढे चार घण्टा लाग्यो ।
प्रत्यारोपणका लागि दाताको कुन मिर्गौला झिक्नुभयो ?
हामीले बायाँतर्फको मिर्गौला झिकेका हौं ।
बायाँ मिर्गौला नै किन ?
दाताको प्रायः बायाँ मिर्गौला नै झिक्ने गरिन्छ । बायाँ मिर्गौलामा मुटुबाट अक्सिजनयुक्त रगत लैजाने मुख्य नसा (रेनल आर्टरी) तथा मिर्गौलाले छानेको रगतलाई फोक्सोमा लिएर जाने नसा (रेनल भेन) को लम्बाइ केही लामो हुने भएकाले प्रत्यारोपणमा सहज हुन्छ । सामान्य भाषामा भन्दा निकालेर जोड्न सहज हुन्छ । दाताको दायाँभन्दा बायाँ मिर्गौला प्रविधिक रूपमा राम्रो छ भने दायाँ मिर्गौला निकाल्छौं, बायाँ निकाल्दैनौं ।
प्रधानमन्त्रीमा प्रत्यारोपित मिर्गौला कतातर्फ राखियो ?
उहाँको पहिलो प्रत्यारोपणमा दायाँतर्फ मिर्गौला राखिएको थियो । त्यसैले हामीले अहिले बायाँतर्फ राखेका छौं ।
प्रधानमन्त्रीले मुलुकमा नेपाली चिकित्सकहरूबाटै दोस्रो प्रत्यारोपण गराउँदा तपाईंहरूको हौसला त बढेको होला नि ?
हो, अवश्य हामी सबैमा नयाँ उत्साह थपिएको छ । हामी यहाँ पहिलो प्रत्यारोपण हुँदा जति खुसी थियौं, अहिले पनि त्यति नै खुसी छौं ।

मुख्य पृष्ठ

खाद्य वस्तु छ

स्वास्थ्य सामग्रीमा अनुगमन भएन
- राजु चौधरी,नुमा थाम्सुहाङ

(काठमाडौं) - बजारमा मास्क, सेनिटाइजर र औषधिजन्य सामग्रीको मूल्यवृद्धि र अभाव भइरहेका बेला सरकारी टोलीले बुधबार सिनेमा हलको अनुगमन गर्‍यो । अनुचित व्यापारिक कारोबार गरेको भन्दै बिग मुभिजलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले २ लाख ५० हजार रुपैयाँ जरिवाना तिरायो । ‘सिनेमा हल अनुगमन गर्नैपर्ने क्षेत्र हो तर हिजोआजको प्राथमिकता त्यो हैन,’ विभागकै एक अधिकारीले भने ।
ती अधिकारीले भनेजस्तै हिजोआज अनुगमन गर्नुपर्ने क्षेत्र मेडिकल तथा दैनिक उपभोग्य सामग्रीको बजारमै हो । कोरोना भाइरस (कोभिड–१९) ले आपूर्ति प्रणालीमा असन्तुलन ल्याउने सम्भावना देखेर व्यापारीले मेडिकलजन्य सामग्रीको मूल्यवृद्धि र अभाव सिर्जना गर्न थाले पनि त्यसलाई रोक्न सरकारले पहल गरेको देखिएको छैन । अभाव, मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिए पनि अनुगमन गरिएको छैन ।
बजारमा मास्क, सेनिटाइजरलगायत सर्जिकल वस्तु पाइन छाडेका छन् । कतिपय व्यवसायीले कालोबजारी गरिरहेको आशंका छ । ‘मुख्य तीन वस्तु (मास्क, सेनिटाइजर र औषधि) मा कालोबजारी सुरु भइसकेको छ । खाद्यवस्तुमा पनि त्यही अवस्था सिर्जना हुन बेर छैन,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘तर सरकार चुप लागेर बसेको देखिन्छ ।’ उनले यतिबेला अनुगमनकारी तथा नियामक निकायमा सरकारी कर्मचारी बढाई बजारमा उपस्थिति बलियो बनाउनुपर्ने बताए ।
बजार अनुगमन तथा मूल्य नियमनको दायित्व वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । विभागले दिनहुँ अनुगमन गरेको दाबी गर्दै आएको छ । तर गरिएको अनुगमन पराम्परागत पाराकै छ । सर्जिकल/औषधि पसलमा एक/दुई टोली खटाउनु र फिल्म हलतिर अनुगमन गर्नुले पनि सरकारी निकायले कसरी काम गरिरहेको छ भन्ने प्रस्ट्याउने उपभोक्ताकर्मीहरूले बताए । ‘स्वास्थ्य क्षेत्रमा केही तयारी गरे पनि आर्थिक क्षेत्रमा ध्यानै दिइएन,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘आपूर्ति प्रणालीमा ध्यान पुगेको छैन ।’ उनले उपभोक्तालाई अनावश्यक मौज्दात रोक्ने विषयमा सचेत गराउनु आवश्यक रहेको बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले व्यवसायीबाट कालोबजारी नभएको दाबी गरे । मास्कमा भने केही समस्या भएको उनले स्वीकार गरे । ‘मास्क ५० रुपैयाँमा आयात गरी २ सय ५० रुपैयाँसम्म बिक्री भइरहेको छ । अहिले पैसाभन्दा ज्यान ठूलो हो,’ उनले भने, ‘मास्क बजारमा तत्काल केही गर्दैनौं ।’
खाद्यवस्तुमा सरकारको ध्यान गएको उनको दाबी छ । निजी क्षेत्र र सरकारी अधिकारीहरूका अनुसार दैनिक उपभोग्य सामग्री र खाद्यान्नमा समस्या छैन । करिब ३ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ । मौज्दात पर्याप्त हुँदाहुँदै उपभोक्ताले ‘स्टक’ राख्न थालेकाले त्यसो नगर्न सरकारले अनुरोध गर्दै आएको छ । ‘साल्ट ट्रेडिङ कर्पोरेसन्सलाई नुन पर्याप्त मौज्दात राख्न भनेका छौं । खाद्य व्यवस्था कम्पनीले दुर्गम र पहाडमा मौज्दात बढाएको छ,’ राज्यमन्त्री दुगडले भने । विभागका महानिर्देशक नेत्र सुवेदीले आपूर्ति सहज बनाउन सरोकारवाला निकायसँग छलफल भइरहेको बताए ।

‘मंगलबार मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघका प्रतिनिधिहरूसँग छलफल भयो,’ उनले भने, ‘चामल, दाल, तेल, घिउलगायत वस्तुको मौज्दात पर्याप्त छ । अभाव हुन दिँदैनौं ।’ महानिर्देशक सुवेदीले आपूर्ति सहज बनाउन बुधबार विभागमा पनि छलफल भएको बताए ।
उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले खाद्यवस्तु आपूर्ति सहज बनाउन निजी क्षेत्रको सहयोग रहने बताए । ‘चीनबाट मुख्यतः फलफूल आयात हुन्छ । खाद्यान्न भारतबाटै आउने हो । संकटको समयमा अनावश्यक रूपमा नाफा नहोस्, अत्यावश्यक वस्तुको आपूर्तिमा सुधार होस् भनेर छलफल गरेका छौं,’ उनले भने, ‘खाद्यवस्तुमा अभाव हुँदैन ।’ चेम्बर अर्फ कर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि खाद्यवस्तुमा कुनै समस्या नभएको बताए ।
खुद्रा व्यापार संघ अध्यक्ष राजकुमार श्रेष्ठले खाद्यको बजार मूल्य नबढेको बताए । ‘करिब ३ महिनालाई पुग्ने खाद्यवस्तु मौज्दात छ, तर उपभोक्ताको सञ्चय गर्ने प्रवृत्तिले केही समस्या हुन सक्छ ।’ कृत्रिम अभाव गराई फाइदा लिन खोज्ने प्रवृत्तिमा सरकार सचेत हुनुपर्ने उनले बताए । होलसेल व्यवसायीको छाता संगठन खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पनि मास्कमा केही समस्या देखिएको तर खाद्यवस्तुमा चिन्ता नभएको बताए । त्रास फैलिँदै गए खाद्यवस्तुको अभाव हुन सक्ने भएकाले सरकारले अनुगमन तीव्र बनाउनुपर्ने उनले भने ।
व्यवसायीहरूले चीनबाट आयात हुने प्याज–लसुन तथा विभिन्न कच्चा पदार्थका विषयमा भने सरकार सजग हुनुपर्ने बताए । चामल, गहुँ भारतबाट आयात हुन्छ । तेल सिंगापुर, मलेसियाबाट आयात भइरहेको छ । दाल बर्माबाट, गेडागुडी तेस्रो मुलुकबाट आयात भइरहेको छ ।
नेपाल वितरक संघका पूर्वअध्यक्ष दुर्गाराज श्रेष्ठले चीनबाट आयात हुने कस्मेटिक सामग्री र कपडामा केही समस्या देखिएको बताए । ‘१० दिनयता कस्मेटिक सामग्री आयात भएको छैन । पुराना मौज्दात सकिँदै गएका छन्,’ उनले भने, ‘अधिकांश कपडा चीनबाटै आउने हुँदा यही अवस्था रहे २/३ महिनापछि कपडामा समस्या हुन्छ ।’
उपभोक्ताले खाना पकाउने ग्यासमा समेत स्टक राख्ने प्रवृत्ति बढेको उपभोक्ताकर्मीको भनाइ छ । नेपाल आयल निगमले भने आयात पर्याप्त भएकाले ग्यासमा आत्तिनुपर्ने अवस्था नभएको जनाएको छ । ‘ग्यासको मासिक आयात कोटा ४० हजार टन हो,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने ।
थर्मोमिटर पनि अभाव
बजारमा सेनिटाइजर र नन कन्ट्याक्ट थर्मोमिटर (इन्फारेड थर्मोमिटर) अभाव हुन थालेको छ । हिमालयन सर्जिकल हाउसका सञ्चालक युवराज बेलबासे मागअनुसार सेनिटाइजर र इन्फारेड थर्मोमिटर दिन नसकिएको बताए । ‘टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार जनालाई आइसोलेसनमा राखेलगत्तै बजारमा सेनिटाइजर र थर्मोमिटरको माग बढ्यो,’ उनले भने ।
व्यवसायीका अनुसार ‘एन–९५’ मास्क फागुनदेखि नै अभाव छ । खिचापोखरी निवासी रोश्नी गुरुङले मंगलबार त्रिपुरेश्वरका सर्जिकल स्टोरमा ह्यान्ड सेनिटाइजर खोज्दा कत्तै नपाएको सुनाइन् । व्यवसायीका अनुसार कोभिड–१९ को समाचार फैलिएलगत्तै सर्जिकल पसलमा भीड बढ्दो छ । माग बढेपछि व्यवसायीले कालोबजारी गरेर पनि सामान बेचिरहेका छन् । ८ रुपैयाँ पर्ने मास्क ३० रुपैयाँमा बिक्री भइरहेको छ ।
व्यवसायीका अनुसार सेनिटाइजर एमएल हेरी ५५ रुपैयाँदेखि ४ सय रुपैयाँसम्म बिक्री भइरहेको छ । त्रिपुरेश्वरको महालक्ष्मी इसान इन्टरप्राइजेजका सञ्चालक उमेश कार्कीले आफूसँग रहेको सेनिटाइजर ३/४ दिनमा सकिएको बताए । चीनमा संक्रमण फैलिएलगत्तै चिनियाँले यहाँबाट सर्जिकल सामान किनेर लगेका थिए ।
व्यवसायीका अनुसार डिजिटल थर्मोमिटरभन्दा नन कन्ट्याक्ट थर्मोमिटर सुरक्षित हुन्छ । केमिकल एन्ड मेडिकल एसोसिएनका अध्यक्ष सुरेश घिमिरेले भने सरकारले सहयोग गरे थर्मोमिटर र सेनिटाइजरको अभाव नहुने बताए । ‘आयात गर्दा भारतको भन्सारले रोकेन भने अभाव हुँदैन,’ उनले भने, ‘त्यसैले सरकारसँग कुरा गरिरहेका छौं ।’

व्यापारीलाई चेतावनी
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दैनिक उपभोग्य वस्तु र कोभिड–१९ रोकथामका लागि प्रयोग हुने मास्क, सेनिटाइजरलगायत सामानमा कृत्रिम अभाव देखाउने तथा बढी मूल्य लिने व्यापारीलाई पक्राउ गर्ने चेतावनी दिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उद्योग वाणिज्य संघ, खुद्रा व्यापार संघ काठमाडौंका पदाधिकारीसहितको बैठक उपभोग्य र सरसफाइजन्य वस्तुमा कालोबजारी गर्नेमाथि पक्राउ गर्ने बताएका हुन् । ‘व्यापारीले कृत्रिम अभाव देखाउँदै उपभोग्य वस्तुमा कालोबजारी गर्नु झनै ठूलो अपराध हो, यसप्रति प्रशासन गम्भीर बनेको छ,’ काठमाडौंका सहायक प्रजिअ जीवन आचार्यले भने ।

 

मुख्य पृष्ठ

उकालो लाग्दै तापक्रम

- अब्दुल्लाह मियाँ

(काठमाडौं) - काठमाडौंसहित देशभर तापक्रम उकालो लाग्न थालेको छ । बुधबार काठमाडौंमा अधिकतम तापक्रम २३.५ डिग्री सेल्सियस रेकर्ड भएको छ । काठमाडौंमा आइतबार तापक्रम बढ्न सुरु भएको हो । बुधबार धनगढीमा २९, दिपायलमा २७.२, वीरेन्द्रनगरमा २५.८, नेपालगन्जमा २८.६, दाङमा २५.७, पोखरामा २४.५, भैरहवामा २८.७, सिमरामा २९ र विराटनगरमा २८.६ डिग्री रेकर्ड भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार मुलुकभरि नै न्यूनतम र अधिकतम तापक्रम बढ्दै गएको छ । १ मार्च (फागुन १८) देखि देशैभर तापक्रम बढेको हो । जानकारहरूका अनुसार ४ देखि १० डिग्रीसम्म तापक्रम भएको क्षेत्रमा कुनै पनि भाइरस लामो समयसम्म बाँच्न सक्छ । ३० डिग्री हाराहारी तापक्रम पुगेपछि त्यस्ता भाइरस आफैं निष्क्रिय हुँदै जान्छन् । उच्च आर्द्रतालाई भाइरसले मन पराउँदैन ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि उच्च तापक्रम भएको क्षेत्रमा भाइरस लामो समय बाँच्न नसक्ने उल्लेख गरेको छ । मार्च, अप्रिल, मे र जुन तापक्रम बढी हुने महिना हुन् । मार्चमा काठमाडौंमा औसत २५ देखि ३३ डिग्रीसम्म तापक्रम रेकर्ड हुने गरेको देखिन्छ ।

काठमाडौंको तापक्रम सन् २०१० मार्च २४ मा ३३ डिग्रीसम्म रेकर्ड भएको छ भने सन् १९८९ मे ७ मा ३६.६ डिग्रीसम्म थियो ।
मौसमविद् पौडेलका अनुसार पोखरामा पनि मार्चमा तापक्रम अधिक रेकर्ड हुने गरेको देखिन्छ । सन् २०१३ मार्चमा त्यहाँको तापक्रम ३८.५ डिग्रीसम्म पुगेको थियो । सन् १९९२ मार्चमा पोखराको तापक्रम ३५
डिग्री थियो ।
नेपालगन्जमा मार्च र अप्रिल महिनाको तापक्रम करिब ४० डिग्री हाराहारी रेकर्ड हुने गरेको छ । सन् २००४ मार्च २३ मा नेपालगन्जको तापक्रम ३९.८ डिग्री रेकर्ड भएको थियो भने डडेलधुरामा सन् २०१२ मार्चमा ३४.३ डिग्रीसम्म तापक्रम पुगेको देखिन्छ ।
महाशाखाका अनुसार धनगढीमा मार्च, अप्रिल र जुनमा ४० डिग्री हाराहारी तापक्रम रेकर्ड हुने गरेको छ । सन् १९९५ मार्च ५ मा त्यहाँको तापक्रम ४६.४ डिग्रीसम्म रेकर्ड भएको छ । विराटनगर, जनकपुर, धनकुटालगायत क्षेत्रको तापक्रम पनि मार्चदेखि उकालो लाग्ने गरेको छ । सन् १९८६ मार्च ३० मा विराटनगरको तापक्रम ३९.२ डिग्रीसम्म रेकर्ड भएको थियो ।

नयाँ प्रणाली भित्रिँदै
महाशाखाका अनुसार भूमध्यसागरबाट इरान हुँदै बिहीबारसम्म नेपालको पश्चिम भागमा नयाँ मौसमी प्रणाली भित्रिँदै छ ।
उक्त प्रणाली बुधबार इरान, अफगानिस्तान, पाकिस्तान हुँदै भारतीय वायुमण्डलसम्म आइपुगेको छ । त्यो प्रणाली बिहीबार मुलुकको पश्चिमी भागमा प्रवेश हुने महाशाखाले उल्लेख गरेको छ ।
उक्त प्रणालीका कारण आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन हुने, चट्याङ पर्ने, हावाहुरी चल्ने र असिनासहित वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ । हिमाली भागमा हिमपातको समेत सम्भावना छ । आइतबारदेखि देशभरको मौसममा सुधार आउनेछ ।

Page 2
समाचार

नाकाहरूमा निगरानी कमजोर

प्रदेश सरकारहरु कोरोना संक्रमितहरुको आवागमन हुन नदिन तथा उपचारका लागि आइसोलेसन कक्ष र स्वास्थ्यकर्मीको व्यवस्थापनमा बल्ल जुट्दै
- प्रदेश ब्युरो
बाराको सीमावर्ती नाका मटिअर्वामा कोभिड–१९ को सचेतनाका लागि बुधबार स्थापना गरिएको हेल्प डेस्क । तस्बिर ः कान्तिपुर

(धनगढी) - कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन सीमावर्ती भारततर्फ स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । भारतीय सुरक्षाकर्मीले दुई सातादेखि मास्कको प्रयोग अनिवार्य गरेका छन् । तुलनात्मक रूपमा नेपालतर्फ भने सतर्कताका गतिविधि कम छ । भारतबाट भित्रिनेको जाँच थालिएको छैन ।
पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीमा भीमदत्त नगरपालिकाले राखेको हेल्थ डेस्कले ज्वरो नाप्ने र पर्चा पम्प्लेट बाँड्ने गरिरहेको छ । ‘शंकास्पद अवस्थाका बिरामी भेटिएका छैनन्,’ डेस्कमा खटिएकी अनमी निर्मला जोशीले भनिन् । गड्डाचौकी नाका भएर दैनिक सयौं नेपाली र भारतीय आउजाउ गर्छन् भने दर्जनभन्दा बढी नेपाल–भारत मैत्री बससमेत सञ्चालनमा छन् । भारतको राजधानी नयाँ दिल्ली महेन्द्रनगरबाट साढे ३ सय किमि दूरीमा छ । नाकामा स्वास्थ्य जाँच कडा पार्न उपकरण र जनशक्ति नभएको जिल्ला स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले बताए । ‘त्यसरी काम गर्न निर्देशन पनि आएको छैन,’ उनले भने ।
भारतसँग सीमा जोडिएका विभिन्न क्षेत्रबाट आवागमन हुने गरेको छ । ब्रह्मदेव, गड्डाचौकी हुँदै दोधारा–चाँदनी तथा दक्षिणी क्षेत्रमा बेल्डाडी, बेलौरी र पुनर्वासका विभिन्न नाकाबाट आवागमन हुने गरेको छ । कतै पनि सतर्कताका काम थालिएका छैनन् । महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरि श्रेष्ठले कोभिड– १९ को लक्षण देखिएका बिरामी राख्न छुट्टै उपचार कक्ष तयार गरिएको बताए । ‘अस्पतालका धेरैजसो बेड खाली छन् । आकस्मिक अवस्था आए शंकास्पद बिरामी राख्न हामीलाई ठाउँ अभाव नहोला,’ उनले भने । संक्रमणबाट सावधानीका लागि मास्कको प्रयोग बढेपछि कालोबजारी सुरु भएको छ । केही साताअघिसम्म १५ रुपैयाँमा पाइने मास्कलाई व्यापारीले ५० रुपैयाँमा बेच्न थालेका छन् ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार धनगढीको त्रिनगर, टीकापुरको खक्रौला, कञ्चनपुरको गड्डाचौकी, बैतडीको भुलाघाट, दार्चुलाको भन्सार नाका र धनगढी विमानस्थलमा हेल्पडेस्क राखिएको छ ।
दुई साताअघि चीन र दक्षिण कोरियाबाट आएका दुई युवकलाई सुदूरपश्चिम प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा राखिएको थियो । दुवै कोभिड–१९ संक्रमित नरहेको पुष्टि भएपछि घर फर्किए । संक्रमित एकजना पनि भेटिएका छैनन् तर हल्लाले नै त्रास बढाएको धनगढीका वीरबहादुर बुढाले बताए । ‘सरकारले विश्वनीय सावधानीका उपाय अपनाएर बढेको सन्त्रास घटाउनुपर्छ,’ उनले भने । प्रदेशको भूगोलमा उत्तरी सीमा नाका दार्चुला र बझाङ चीनसँग पनि जोडिएको भए पनि आउजाउ भारत जसरी सहज छैन । त्यसैले डराउनुपर्ने अवस्था नरहेको स्वास्थ्यकर्मी बताउँछन् ।

हेल्थ डेस्क छ, परीक्षण हुँदैन
बुटवल– नेपालगन्जको जमुनाहा नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । मास्क लगाएर दैनिक खटिने कर्मचारीले यात्रुको स्वास्थ्य परीक्षण गर्दैनन् । मानवअधिकार आयोग, नेपालगन्ज कार्यालय र जिल्लास्थित राजनीतिक दलले विज्ञप्तिमार्फत नाका र विमानस्थलमा दक्ष स्वास्थ्यकर्मी राखेर स्वास्थ्य
परीक्षणको व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।
आयोगका कार्यालय प्रमुख चन्द्रकान्त चापागाईंले भारतबाट सहज रूपमा दैनिक ठूलो संख्याका सर्वसाधारणको आवतजावत भइरहेकाले जमुनाहा नाकामा स्वास्थ्य जाँचको व्यवस्था मिलाउन आग्रह गरे । नेकपा जिल्ला कमिटीले नाका र विमानस्थलमा स्वास्थ्य परीक्षणको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा जिल्ला अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइरालाले ज्ञापनपत्रमा कोरोनालगायत भाइरसको संक्रमणबाट जोगिन जथाभाबी समूहमा होली नखेल्न, अनावश्यक रूपले सभा, समारोहमा सहभागिता नजनाउन अपिल गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जमुनाहामा बिहान ७ देखि साँझ ७ बजेसम्म चार जना स्वास्थ्यकर्मी खटाएर कोरोनाबाट जोगिने उपायबारे जानकारी दिने गरिएको बताए । शंका लागेकालाई भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज पठाइए पनि संक्रमण नभेटिएको जनस्वास्थ्य कार्यालय प्रमुख धीरजजंग शाहले बताए ।
बर्दियामा जिल्ला प्रशासनले भेला र सार्वजनिक कार्यक्रम नगर्न स्थानीय तहलाई अनुरोध गरेको छ । खुला नाका भएर आउजाउ गर्नेको स्वास्थ्य जाँच र निगरानी भने थालिएको छैन । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने, ‘सीमामा स्वास्थ्य जाँचको व्यवस्था मिलाउन पहल भइरहेको छ ।’ बर्दियाका बढैयाताल गाउँपालिका, गुलरिया, मधुवन र राजापुर नगरपालिका भारतीय सीमासँग जोडिएका छन् ।
रूपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा स्वास्थ्य सहायता कक्ष छैन । जिल्ला प्रशासनमा सोमबार सुरक्षा निकाय, अध्यागमन, प्रदेशका मन्त्रालय र अन्य सरोकारवाला निकायबीच भएको बैठकले कक्ष स्थापना गर्ने निर्णय गरेको थियो । विमानस्थलका निर्देर्शक टेकराज पोखरेलले विदेशी यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि यहाँ आउने भएकाले त्रसित हुनुपर्ने स्थिति नभएको बताए ।
भारतको सुनौली नाकामा सिद्धार्थनगर नगरपालिकासँग समन्वय गरेर अध्यागमन कार्यालय नजिक गत माघ १६ देखि स्वास्थ्य सहायता कक्ष सञ्चालनमा छ । उक्त कक्षमा अहिलेसम्म १ सय २५ जना विदेशी यात्रुको स्वास्थ्य जाँच गरिएको छ । महामारी नियन्त्रण शाखा प्रमुख केदारनाथ शाहले अहिलेसम्म कसैलाई पनि संक्रमण भएको नपाइएको बताए । निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संक्रमित भेटिए भैरहवाका युनिभर्सल मेडिकल कलेजमा ३० र भीम अस्पतालमा चारवटा शय्या छुट्टै उपचारका लागि राखिएको बताए । कोरोनाविरुद्ध दाङमा सतर्कता अपनाउँदै जिल्लाका सीमा नाकामा जाँच गर्ने तयारी थालिएको छ । कोइलाबास नाकामा बिहीबारदेखि स्वास्थ्य जाँचको सेवा सुरु हुने जिल्ला जनस्वास्थ्य प्रमुख सुनिता पौडेलले बताइन् । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि १० शय्याको आइसोलेसन वार्ड तयार राखिएको छ । भारतको उत्तरप्रदेश प्रहरी युनिटले कपिलवस्तुको सीमा क्षेत्रका सचेतना कक्षा सञ्चालन गरिरहेको छ । नेपालतर्फ भने बेवास्ता गरिएको छ ।

आठ अस्पतालमा आइसोलेसन कक्ष
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले १४ सरकारी अस्पताल र चार मेडिकल कलेजलाई आवश्यक पूर्वाधार तयार गर्न निर्देशन दिएको छ । सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेशका सरकारी अस्पताल र मेडिकल कलेजमा आइसोलेसनसहित उपचार प्रबन्ध भइसकेको बताए । प्रदेशको स्वास्थ्य निर्देशनालयकी फोकल पर्सन डा. सबु काफ्लेका अनुसार मंगलबारसम्म लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, देवदह मेडिकल कलेज रूपन्देही, युनिभर्सल मेडिकल कलेज भैरहवा, लुम्बिनी मेडिकल कलेज पाल्पा, युनाइटेड मिसन अस्पताल पाल्पा र भेरी अस्पताल बाँकेले आइसोलेसन कक्ष स्थापना भएको जानकारी पठाएका छन् ।

पूर्वका अस्पतालमा २८ आइसोलेसन बेड
विराटनगर– कोभिड–१९ को संक्रमण फैलिन सक्ने अनुमान गर्दै सरकारले पूर्वका विभिन्न अस्पतालमा आइसोलेसन वार्ड तथा बेड राख्ने तयारी गरेको छ । प्रदेश १ को स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताले सतर्कता अपनाउँदै आवश्यक पूर्वाधार व्यवस्थापन भइरहेको बताए । ‘पूर्वको कोसी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट, मेची र नोबेल अस्पतालमा गरी करिब २८ वटा आइसोलेसन बेड राख्ने तयारी छ,’ उनले भने ।
संक्रमितलाई छिटो उपचार सेवा उपलब्ध गराउन प्रदेश १ का स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा गठित प्राविधिक टोलीको बुधबार बसेको बैठकले चारवटा सीमानाकामा स्वास्थ्य जाँचको हेल्प डेस्क राख्ने निर्णय गरेको छ । विदेशी पर्यटकको आवागमन हुने रानी, काँकडभिट्टा, भद्रपुर र पशुपति नाकामा भन्सार नाकामा पनि सुरक्षाकर्मीसहितको स्वास्थ्य हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरिएको छ ।

समाचार

औषधि निर्यात खुलाउन पहल

- कान्तिपुर संवाददाता

नयाँदिल्ली (कास)– भारतले अत्यावश्यक औषधिको निर्यातमा तत्कालका लागि लगाएको रोक खुलाउन नेपालले पहल थालेको छ । भारतले कोभिड–१९ को संक्रमण बढ्न सक्ने आकलन गर्दै मंगलबार मात्र पारासिटामोल लगायत २६ वटा अत्यावश्यकीय औषधिको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयको उक्त निर्णयपछि ती औषधि निर्यात गर्न सरकारको इजाजत लिनुपर्नेछ ।
स्रोतका अनुसार निर्णय पुनर्विचारका लागि नेपालले भारतसमक्ष अनौपचारिक रूपमा अनुरोध गरिसकेको छ । तर सबै औषधिको निर्यात भने खुला गर्न नसकिने बरु नेपालले अत्यावश्यक ठानेका सिटामोललगायत औषधिमा पुनर्विचार गर्न सकिने जवाफ भारतले दिएको छ । ‘भारतीय पक्षसँग कुरा भएको थियो र उनीहरूले पुनर्विचार गर्न सकिने जवाफ दिएका थिए,’ एक नेपाली अधिकारीले भने ।

समाचार

७० हजार विदेशी यात्रु घटे

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कोभिड–१९ को प्रभावका कारण नेपाल भित्रिने विदेशीको संख्या ह्वात्तै घटेको छ । फेब्रुअरी महिनामा मात्रै अघिल्लो वर्षको तुलनामा नेपाल आउने हवाई यात्रु ७० हजार घटेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायसँग बुधबार गरेको छलफलमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सन् २०१९ को फेब्रुअरीको दाँजोमा यस वर्ष (२०२० फेब्रुअरीमा) ६९ हजार ३ सय ७६ यात्रु कम भएको तथ्यांक प्रस्तुत गरे । २०१९ फेब्रुअरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ ३ लाख ३० हजार २५ यात्रुको आवागमन भएको थियो । यसपालि यो संख्या २१ प्रतिशतले घटेर २ लाख ६० हजार ६ सय ४९ मा झरेको छ ।
अन्तर्राष्ट्रिय एयरलायन्सहरूको उडानसमेत झन्डै सात प्रतिशतले घटेको छ । प्राधिकरणका अनुसार अघिल्लो वर्षको फेब्रुअरीको दाँजोमा यस वर्ष फेब्रुअरीमा १ सय ७१ वटा उडान घटे । अघिल्लो वर्ष २५ सय १३ वटा उडान भएका थिए । कोभिड–१९ को प्रभाव रहेका चीन, हङकङ, दक्षिण कोरिया र जापानमा संसारभरका ६२ वटा एयरलाइन्सले नियमित उडान कटौती गरेका छन् । यसैबीच पर्यटनमन्त्री योगेश भट्टराईले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पार्न सक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डमा एक्सन टिम बनाउन निर्देशन दिएका छन् ।
विदेशी नागरिक निगरानीमा
गोरखा– जिल्ला प्रशासन कार्यालयले विदेशी नागरिकको निगरानी बढाएको छ । एक साताको बीचमा १४ विदेशीलाई गोरखा छाड्न भनिएको कार्यालयका अधिकृत हर्क रोकाले जानकारी दिए । श्रम स्वीकृतिबिना काम गरिरहेका ८ चिनियाँ नागरिकलाई सोमबार अध्यागमन कार्यालय काठमाडौं पठाएको प्रशासनले २ ताइवानी र ४ जापानीलाई पनि जिल्ला छाड्न भनेको हो । मंगलबार मात्र ताइवानी नागरिक सिनचेङ मेङ र ग्वान टिङलाई जिल्ला छाड्न प्रशासनले निर्देशन दिएको छ । ‘एउटा प्रयोजनका लागि आएर फरक काम गरेकाले जिल्ला छाड्न भनेका हौं,’ रोकाले भने ।

समाचार

प्रधानमन्त्री निश्चिन्त, शुभेच्छुक बेचैन

- बिनु सुवेदी
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै बुधबार त्रिवि शिक्षण अस्पताल परिसरमा विद्यार्थी । तस्बिर ः कबिन अधिकारी/कान्तिपुर

(काठमाडौं) - प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार बिहान पौने १० बजेतिर क्याबिन नम्बर ६ सय १ बाट अपरेसन थिएटर लगिँदै थियो । साथमा शल्यक्रिया टोलीका चिकित्सक, परिवारजन र निजी सचिवालयका केही सदस्य थिए । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न गइरहेका ओली निश्चिन्त देखिन्थे तर निकटस्थहरूको बेचैनी बढेको थियो । उनलाई शल्यक्रिया कक्षमा प्रवेश गराउँदा श्रीमती राधिका शाक्य मौन थिइन् भने अरू पनि केही बोल्न सकेका थिएनन् । उनलाई बिदाइ गर्दै प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘अल द बेस्ट प्रधानमन्त्रीज्यू ।’
ओलीलाई त्यसो भनेको केहीबेरमा बाहिरिएका रिमालले कान्तिपुरसँग भने, ‘आफ्नो रोग र उपचारबारे प्रधानमन्त्रीज्यूले राम्ररी अध्ययन गर्नुभएको छ । हामी आत्तिँदा पनि उहाँ धैर्य देखिनुहुन्छ ।’ रिमालका अनुसार शल्यक्रियाका लागि अपरेसन थिएटरमा जाँदै गर्दा ओलीले मुस्कुराउँदै हात हल्लाएका थिए । थिएटरमा पुगेपछि ओलीलाई चिकित्सकहरूले सोधे, ‘हामीलाई केही भन्नु छ प्रधानमन्त्रीज्यू ?’ प्रधानमन्त्रीले जवाफ दिए, ‘मलाई तपार्इंहरूमाथि पूरै विश्वास छ ।’
त्यसपछि दिनभरिमा ओलीको मिर्गौला प्रत्यारोपण गरियो । प्रत्यारोपण सफल भयो । करिब पाँच घण्टापछि साँझपख ओली होसमा आए । त्यसपछि आईसीयूमा आराम गरिरहेका ओलीको स्वास्थ्य अहिले स्थिर रहेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले बताएका छन् । ‘उहाँका सबै मुख्य सूचकांकहरू राम्रो अवस्थामा छन् । प्रत्यारोपित मिर्गौलाले पनि काम सुरु गरिसकेको छ,’ उनले भने, ‘उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइनेछ ।’ अस्पतालका अनुसार ओलीलाई अब तीन दिन कसैलाई भेट्न दिइनेछैन ।
ओलीलाई मिर्गौला दिएकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।
अपरेसन थिएटरभित्र ओलीको शरीर चिर्ने र सिलाउने काम भइरहँदा अस्पताल प्रांगणमा उनको स्वास्थ्यलाभको कामना गर्नेहरू जम्मा भइसकेका थिए । मन्त्री, सांसदलगायत क्याबिनसम्म पुगेर प्रधानमन्त्रीबारे ताजा अवस्था बुझेर आउँथे भने बाहिर बसेको समूह उनीहरूबाटै खबर थाहा पाउँथ्यो । घण्टैपिच्छे नयाँ नयाँ खबर बाहिर आइरहेका थिए । अपरेसन थिएटरमा छिराइयो, मिर्गौलाको सफल प्रत्यारोपण भयो, नयाँ मिर्गौलाले प्रधानमन्त्रीको शरीरमा काम गर्न थाल्यो, उनी होसमा आए । जसै क्याबिनबाट कोही बाहिर आउँथे, त्यहाँ जम्मा भएका शुभेच्छुकहरू घेर्न पुगिहाल्थे । तिनैमध्येकी हुन् ‘मिथिला नगरपालिका धनुषाकी उपप्रमुख तारा बस्नेत लामा । उनी प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्नकै लागि अस्पताल पुगेकी थिइन् । ‘अहिले देशलाई उहाँको खाँचो छ,’ लामाले भनिन् ।
प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल भर्ना भएका हुन् । १३ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उनले गत साउन दोस्रो र भदौको पहिलो साता सिंगापुर पुगेर उपचार गराएका थिए । त्यसयता ओलीको नियमित डायलसिस हुँदै आएको थियो । नियमित डायलसिस गर्ने या दोस्रो पटक प्रत्यारोपण गर्ने भन्नेबारे लामो छलफल र अध्ययनपछि ओली प्रत्यारोपणको निष्कर्षमा पुगेका थिए ।
‘मुलुकको कार्यकारी प्रमुखले चाहेको भए विदेशको अझै सुविधासम्पन्न अस्पताल रोज्न सक्थे होलान्,’ त्यहाँ उपस्थितहरूको टिप्पणी हुन्थ्यो, ‘तर देशकै सरकारी अस्पतालमा यति ठूलो शल्यक्रिया गराएर देशको स्वास्थ्य क्षेत्रमाथि नागरिकको भरोसा थपिदिनुभयो ।’
‘गेट वेल सुन प्रधानमन्त्री’ लेखिएको प्ले कार्ड बोकेर अस्पताल परिसरमा उभिएका गुल्मीका बाबुराम कुँवरले देशको सीमा रक्षादेखि पार्टी र सरकारभित्रका थुप्रै समस्या हल गर्न प्रधानमन्त्री सम्पूर्ण रूपमा स्वस्थ हुनुपर्ने बताए ।
ओलीले आफू अस्पताल रहँदा सरकार र पार्टी दुवैतिरका काममा कुनै असर नपर्ने बताएका थिए तर उनीसँगै जोडिएका पार्टीभित्रका विवाद तत्कालका लागि स्थगित छन् । ओली अस्पतालबाट डिस्चार्ज नभएसम्म देशका कतिपय राजनीतिक ऐजन्डा पनि ‘स्थिर’ नै रहनेछन् । त्यसैले देश चलायमान हुनका लागि ओली निको भएर फर्किनुपर्ने र त्यसका लागि शुभेच्छा प्रकट गर्न आफू अस्पताल पुगेको नुवाकोटका उत्सव अधिकारीले बताए ।
सर्वसाधारणजस्तै विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद पनि प्रधानमन्त्रीको स्वास्थ्यबारे बुझ्न अस्पताल पुगेका थिए । उनीहरूलाई शल्यक्रियामा संलग्न डा. प्रेम ज्ञवालीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
दिउँसो प्रतिनिधिसभाले पनि प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित गरेको थियो । प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले दीप प्रज्वलन गरेको थियो । साँझ नेकपाका वरिष्ठ नेता माधव नेपालसहित सचिवालयका नेता र मन्त्रीहरू स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसर नेपालको जनसंख्याको १० प्रतिशत (करिब ३० लाख नागरिक) मिर्गौलाको समस्याबाट पीडित छन् । यिनै पीडितहरूको प्रतिनिधित्व गर्दै मिर्गौला रोगीहरूको एउटा समूह पनि अस्पताल पुगेको थियो । प्रधानमन्त्री ओलीलाई सन्चो भयो भने आफूहरूको पनि मर्का बुझिदिन्छन् भन्ने अपेक्षा उनीहरूको थियो । प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न पुगेकी मिर्गौलापीडित सरोकार समितिकी सदस्य तुल्सीदेवी सुवेदीले भनिन्, ‘प्रधानमन्त्रीज्यूलाई सन्चो भयो भने हामीलाई मिर्गौला उपचारमा सहुलियत व्यवस्था गर्नुहुन्छ भन्ने आस छ ।’

 

Page 3
समाचार

खाली दरबन्दी समेटेर प्रहरीमा समायोजन

शान्तिसुरक्षा व्यवस्थापन तथा भर्ना प्रणालीमा समस्या पर्छ ः लोकसेवा
- मातृका दाहाल

(काठमाडौं) - भर्ना नै नगरिएका करिब ११ हजार प्रहरी दरबन्दीलाई समेत समेटेर गृह मन्त्रालयले प्रहरी समायोजन प्रक्रिया अघि बढाएको छ । संघ र प्रदेश सरकार मातहत रहने प्रहरीको संगठन र दरबन्दी कायम गर्न गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गत साता बसेको बैठकले कुल दरबन्दीको साढे १३ प्रतिशत रिक्त जनशक्ति समेटेर संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) निर्माण प्रक्रिया थालेको हो । गृहसचिव अध्यक्ष रहेको समितिले व्यवस्थापन महाशाखा प्रमुख रामप्रसाद आचार्यको संयोजकत्वमा उपसमिति गठन गरिसकेको छ ।
उपसमितिलाई ओएनएम निर्माण र समायोजन हुने प्रहरीको विवरण संकलन गर्ने जिम्मेवारी दिइएको छ । ओएनएमसम्बन्धी मस्यौदा निर्माणमा खटिएका एक अधिकारीले सातवटै प्रदेशमा ५५ हजार जनशक्ति समायोजनको तयारी गरिएको बताए । नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि प्रहरी महानिरीक्षकसम्म हाल कायम ७९ हजार ५ सय २३ दरबन्दीमध्ये ६८ हजार ७ सय ७६ मात्रै कार्यरत छन् । कुल दरबन्दीमा १० हजार ७ सय ४७ जनशक्ति अभाव छ ।
लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले खाली दरबन्दी कायम गरेर समायोजन गर्दा शान्तिसुरक्षा व्यवस्थापन तथा भर्ना प्रणालीमा समस्या पर्ने बताउँछन् । ‘खाली दरबन्दी कायम गरेर प्रदेशमा प्रहरी पठाउँदा त्यसको असर नागरिकले लिने सेवामा पर्छ, यसबारे सरकारले बेलैमा सोचविचार गर्न सकेको देखिएन,’ मैनालीले भने, ‘हामीले रिक्त दरबन्दी पूर्तिका लागि बाटो खोलिदिनदिनुस्, सहजीकरण गरिदिनुस् भनेर सरकारलाई धेरै अघि भनेका हौं तर सुनुवाइ भएन ।’ समायोजनमा जानेलाई चित्त बुझाउन सकिएन भने राजीनामा दिने प्रहरीको चाप झनै बढ्ने र त्यसले अनुभवी जनशक्तिको अभाव खड्किने मैनालीको बुझाइ छ ।
खाली दरबन्दीसहित नेपाल प्रहरी र प्रदेश प्रहरीमा जनशक्ति समायोजन गर्दा उत्पन्न हुने समस्याबारे मंगलबार प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले लोकसेवाका अध्यक्ष मैनालीसँग छलफल गरेका थिए । त्यस क्रममा मैनालीले रिक्त दरबन्दी तत्काल पूर्ति गर्न असम्भव भएको स्पष्ट पारेका थिए । प्रहरी प्रधान कार्यालयले रिक्त दरबन्दीलाई समायोजनपछि संघ सरकारबाटै पदपूर्ति गर्न मिल्ने व्यवस्था राख्न प्रस्ताव गरेको छ । यसमा गृहले सहमति जनाएको छैन । दरबन्दीअनुसार जनशक्तिको पदपूर्ति नहुँदा अधिकृतदेखि जवानसम्मले तोकिएको भन्दा बढी समय काम खटिनुपर्ने हुन्छ । त्यसको प्रत्यक्ष असर नागरिकको सेवा प्रवाहमा हुने प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री बताउँछन् । ‘अहिले दरबन्दीअनुसार करिब ११ हजार जनशक्ति पूर्ति हुन सकेको छैन,’ क्षेत्रीले भने, ‘जुन भूमिका र जिम्मेवारी सिपाहीदेखि अधिकृत तहसम्मलाई दिइएको हुन्छ, जनशक्ति कम हुँदा त्यसको भार कार्यरत जनशक्तिमाथि पर्दा आशा गरेअनुसार प्रगति नहुन सक्छ ।’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले कुल दरबन्दीलाई आधार बनाएर प्रहरी समायोजन गर्न तयारी अघि बढिरहेको बताए । यद्यपि ओएनएम निर्माणका लागि उपसमिति गठन भएकाले प्रतिवेदन नआई केही भन्न नसकिने उनको भनाइ छ ।
संघीय संसद्बाट गत साता प्रमाणीकरण भएको ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ का कतिपय प्रावधानले शान्तिसुरक्षा, चेन अफ कमान्ड र समग्र सुरक्षा व्यवस्थापनमा नकारात्मक असर पुग्ने भन्दै यसप्रति संवेदनशील भइदिन आईजीपी ज्ञवालीले गृह मन्त्रालयलाई आग्रह गरेका थिए ।
‘समायोजन ऐन आइसकेको छ, यसविपरीत बोल्ने हामीलाई छुट छैन,’ ज्ञवालीले भने, ‘तर समायोजनसम्बन्धी कानुनले प्रदेश सरकार मातहत प्रहरी नायब उपरीक्षकसम्म राख्ने भनेको छ, यसमा आइपर्ने समस्या समाधान नगरे एउटा प्रदेशमा रहने प्रहरी अधिकृत एसपी नभएसम्म त्यही प्रदेशअन्तर्गतका जिल्लामा मात्रै काम गर्नुपर्ने बाध्यताले नकारात्मक असर पुग्छ भन्ने हाम्रो चिन्ता हो ।’
प्रहरी प्रधान कार्यालयका एक अधिकारीले वृत्तिविकासमा वैज्ञानिक प्रणाली र जनशक्ति पदपूर्तिमा बेवास्ता गरिँदा सिपाहीदेखि उपल्लो तहका अधिकृतसम्ममा निराशा छाएको बताए । ‘निश्चित समय पुगेपछि स्वाभाविक रूपमा बढुवा हुन्छ, त्यसअनुसार करिअर प्लान बन्छ भन्ने आशा मरिसकेको छ,’ ती अधिकारीले भने । समायोजनसम्बन्धी पछिल्लो कानुनमा प्रहरी निरीक्षक र नायब उपरीक्षक एसपी नभई अन्तरप्रदेश सरुवा हुन नपाउने प्रावधानले ‘पुलिसिङ र करिअर प्लान’ झनै भद्रगोल हुने उनको दाबी छ ।

समाचार

नेपाली माध्यमलाई प्राथमिकता

विद्यालय तहमा नयाँ पाठ्यक्रम
- सुदीप कैनी

(काठमाडौं) - सरकारले आगामी शैक्षिक सत्रदेखि लागू हुने विद्यालय तहको पाठ्यक्रममा नेपाली भाषालाई पठनपाठनको माध्यम भाषा बनाउन जोड दिएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा (१–१२) को पाठ्यक्रम कार्यान्वयनका लागि सरोकारवालालाई सार्वजनिक सूचना जारी गरेर अपिल गरेको हो ।
सरकारले गत भदौमा स्वीकृत गरेको पाठ्यक्रमको प्रारूपमा मातृभाषा, स्थानीय पाठ्यक्रम र नेपाली माध्यम भाषामा जोड दिइएको छ । कक्षा ११ र १२ मा नेपाली र अंग्रेजी दुवै माध्यम भाषा हुनेछन् । ‘सामाजिक अध्ययन, मानव मूल्य/चारित्रिक शिक्षा, नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुको पठनपाठनका लागि माध्यम भाषा नेपाली हुनेछ,’ पाठ्यक्रममा भनिएको छ ।
यसले निजी विद्यालय र अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएका सामुदायिक विद्यालयसमेत प्रभावित हुनेछन् । यसअघि कक्षा १ देखि नै शिक्षण भाषा नेपाली वा अंग्रेजी दुवै हुने व्यवस्था थियो । ‘अंग्रेजी सिक्न/जान्नका लागि कक्षा १ देखि १२ सम्म नै अनिवार्य विषयका रूपमा राखिएको छ,’ केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले भने, ‘अंग्रेजी माध्यमले विद्यार्थीले नबुझ्ने समस्या रहेको पाइयो, मातृभाषा वा समाजमा बोलीचालीमा रहेको भाषामा नै विद्यार्थीले राम्रोसँग सिक्न सक्छन् भन्ने निष्कर्षमा पुगेका हौं ।’ कक्षा ४ देखि १० सम्म अंग्रेजी, गणित र विज्ञानबाहेकका विषयको माध्यम भाषा नेपाली बनाउन लागिएको हो । केन्द्रले अन्तर्राष्ट्रिय अभ्यास, विज्ञहरूको सुझाव र विभिन्न अध्ययनका आधारमा नेपाली भाषालाई शिक्षण भाषा बनाउन जोड दिएको दाबी गरेको छ ।
केन्द्रले ४३ वटा विषयका पाठ्यक्रम निर्माण भइसकेको जनाएको छ । अनिवार्य विषयका पाठ्यपुस्तक केन्द्र आफैंले बनाएको हो । ऐच्छिक विषयमा बहुपाठ्यक्रम लागू गर्न खोजिएको छ । केन्द्रले त्यसका लागि लेखक र प्रकाशकलाई पाठ्यपुस्तक विकास गरी मूल्यांकनका लागि पेस गर्न आग्रह गरेको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले स्वीकृति दिएपछि मात्र पुस्तक अध्यापन गराउन अनुमति पाइन्छ ।
आउँदो शैक्षिकसत्र (वैशाख) देखि कक्षा ९ र १० मा अध्यापन गराउन ऐच्छिक नेपाली विषयको पाठ्यक्रमसमेत स्वीकृत भइसकेको छ । योग, प्राकृतिक चिकित्सा र आयुर्वेद विषयको समेत पठनपाठन सुरु हुने भएको छ । ऐच्छिक सौन्दर्य कला, अवधि भाषा, भोजपुरी भाषाको नयाँ पाठ्यक्रम तयार गरिएको केन्द्रले जनाएको छ । केन्द्रले सूचना जारी गरेर नेपालीलाई आधारभूत तहमा पठनपाठनको माध्यम भाषा बनाउन ताकेता गरेको छ । ‘आधारभूत तह कक्षा ४–८ मा भाषा विषयबाहेक अन्यमा पाठ्यसामग्री तथा सिकाइ सहजीकरण प्रक्रियाका लागि माध्यम भाषा मातृभाषा वा नेपाली भाषा हुनेछ,’ पाठ्यक्रम कार्यान्वयन सम्बन्धी सूचनामा भनिएको छ, ‘गणित र विज्ञान विषयका लागि भने अंग्रेजीलाई माध्यम भाषा बनाउन सकिने छ ।’
केन्द्रका महानिर्देशक पौडेलले विज्ञको सुझाव र विभिन्न अध्ययनको निष्कर्षका आधारमा नेपाली भाषालाई जोड दिएर पाठ्यक्रम तयार पारिएको बताए । आधारभूत तह कक्षा (१–३) मातृभाषा र नेपाली भाषालाई मात्र माध्यम भाषा बनाउने नीति बनाएको उनले बताए ।
त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका प्रध्यापक प्रेम फ्याकले मातृभाषामा शिक्षण गराउँदा प्रभावकारी हुने बताए । ‘अहिले अंग्रेजी पढाउने नाममा क्षमता नभएका शिक्षकले पढाउँदा विद्यार्थीले अंग्रेजी नजान्ने र नेपालीमा पनि पोख्त नहुने समस्या जहाँतहीँ छ,’ उनले भने, ‘नयाँ पाठ्यक्रमले अंग्रेजी माध्यमको विकृति रोक्न मद्दत गर्न सक्छ ।’

समाचार

प्रदेश सांसद र पूर्वडीएसपीलाई बलात्कार आरोप, दुवै पक्राउ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बलात्कार आरोपमा प्रहरीले बुधबार सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कलबहादुर रावल र पूर्वडीएसपी राजेन्द्र खिउजुलाई पक्राउ गरेको छ ।
बलात्कार प्रयास गरेको उजुरी परेपछि नेकपाका सचेतकसमेत रहेका सांसद अक्कलबहादुर रावललाई जिल्ला प्रहरी कार्यालय कैलालीले
पक्रेको हो । प्रहरी कार्यालयमा बुधबार हाजिर भएपछि साँझ सेती प्रादेशिक अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको छ ।
धनगढीकी एक महिलाले आफूमाथि गत माघ २१ गते प्रदेश सांसद रावलले बलात्कार प्रयास गरेको दाबी गर्दै फागुन १४ मा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले बताए । ‘रावल आफैं उपस्थित भएका हुन्,’ डीएसपी बस्नेतले भने, ‘बिहीबार म्याद थप भएपछि थप अनुसन्धान प्रक्रिया अघि बढ्छ ।’ रावल अछाम क्षेत्र २ ‘ख’ बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।
त्यसैगरी, ललितपुरको चापागाउँ प्रहरी वृत्तमा रहँदा एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पूर्वडीएसपी खिउजुलाई पक्राउ गरेको हो । मंसिर ३० गते पुलिस रिपोर्ट बनाउन गएका बेला पहिल्यैदेखि चिनजान रहेका खिउजुले कार्यकक्षमा बोलाएर आफूमाथि दुर्व्यवहार गरेको भन्दै रूपा शर्मा (नाम परिवर्तन) ले प्रहरीमा उजुरी दिएकी थिइन् । घटनाबारे काठमाडौं र ललितपुर परिसरका साथै प्रहरी प्रधान कार्यालयसम्म जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि कानुन व्यवसायीको सहयोगमा रूपाले प्रहरी परिसर ललितपुरमा डीएसपी खिउजुविरुद्ध उजुरी दिएकी थिइन् । त्यसबेलासम्म घटना भएको महिना दिन बितिसकेको थियो । खिउजु सरुवा भएर जिल्ला प्रहरी कार्यालय मोरङ पुगिसकेका थिए । आफूमाथि उजुरी परेको सुइँको पाएपछि खिउजुले मोरङबाटै राजीनामा दिएका थिए ।
रूपासँग चिनजान भएका एक व्यक्तिमार्फत् खिउजुले घटना बाहिर नल्याइदिन र मिलापत्रमा विवाद साम्य पार्न दबाब दिएका थिए तर रूपाले प्रहरीमा किटानी जाहेरी दर्ता गरिन् । राजीनामा दिएर फरार रहेका खिउजुविरुद्ध जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गर्‍यो । त्यही पुर्जीका आधारमा प्रहरीले उनलाई भक्तपुरबाट समातेको हो ।
परिसर प्रवक्ता एसपी दुर्गा सिंहले खिउजुलाई एक विवाहिता महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जनाइन् । ‘प्रहरी रिपोर्ट बनाउन गएका बेला आफूमाथि कार्यकक्षमै यौन हिंसा गरेको भन्ने उजुरी दर्ता भएको थियो, त्यसकै आधारमा अदालतबाट पुर्जी लिएर खिउजुलाई पक्राउ गरिएको हो,’ एसपी सिंहले भनिन्, ‘पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद थप गराएर घटनाको विस्तृत अनुसन्धान गर्छौं ।’
डीएसपी खिउजु भक्तपुर सूर्यविनायक नगरपालिका–१ का स्थानीय हुन् । पीडित रूपा ललितपुरकी । अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार रूपाले आफूमाथि खिउजुले २०७६ जेठदेखि नै शारीरिक शोषण गरेको उजुरी दिएकी छन् । ‘ममाथि जेठबाटै डीएसपी खिउजुले यौन शोषण गर्नुभयो, अन्तिम पटक कार्यालयमै चिया खाने बहानामा बोलाएर जबर्जस्ती गरियो,’ रूपाले उजुरीमा भनेकी छन्, ‘घटना बाहिर ल्याउँछु भन्दा बारम्बार मानसिक यातना दिने काम भयो ।’

समाचार

पत्रकार डेकेन्द्र हत्याका आरोपित पक्राउ

- कान्तिपुर संवाददाता

दैलेख (कास)– पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न भएको आरोप लागेका चार पूर्वमाओवादी कार्यकर्तामध्ये एक जनालाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । मुख्य आरोपितमध्येका दुल्लु नगरपालिका–६, छिउडी–पुसाकोटका अरुण भनिने बमबहादुर खड्का पक्राउ परेका हुन् । जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यका अनुसार न्यायाधीश दण्डपाणि लामिछानेको इजलासको आदेशअनुसार खड्कालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । खड्कालाई मुल्तबीमा रहेको कर्तव्य ज्यान मुद्दा लगाई मंगलबार थुनामा राख्न अदालतले आदेश दिएको उनले बताए । जिल्ला प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीका अनुसार खड्कालाई कैलालीबाट पक्राउ गरी दैलेख पुर्‍याइएको हो ।
पत्रकार थापालाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले २०६१ साउन २७ गते दैलेखको नौमुलेस्थित द्वारीमा मरणासन्न हुने गरी कुटेका थिए । त्यसलगत्तै उनीहरूले थापालाई जिउँदै खाल्डामा गाडेर हत्या गरेका थिए ।

समाचार

सिंजामा 'खस भाषा' मा पढाइ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– जुम्लाको सिंजा गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि ‘खस भाषा र संस्कृति’ विषय पठनपाठन सुरु गर्ने भएको छ । शैक्षिक सत्र २०७७ बाट गाउँपालिकाभित्र रहेका २२ विद्यालयमा पठनपाठन गराउन लागिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । त्यसका लागि गाउँपालिकाले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्धारण गरिसकेको छ । पाठ्यपुस्तकमा खस भाषाको परिचय, सिंजाको नक्सा तथा चिनारी, सम्पदा, परम्परा, मुख्य थान र मन्दिरहरू, कृषि औजार, पेसा व्यवसाय, लोकसंस्कृतिजस्ता विषय छन् । अन्तर्क्रियामा बोल्दै शताब्दी पुरुष सत्यमोहन जोशीले भाषा नरहे पहिचान हराउने भएकाले सिंजा सभ्यताको पुनः जागरण गरिनुपर्ने बताए । 

समाचार

विशेष प्रस्ताव पारित

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रतिनिधिसभाको बुधबारको बैठकले मिर्गौला प्रत्यारोपण गरी उपचारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ओलीको मिर्गौला प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न होस् भन्दै शीघ्र स्वाथ्यलाभको कामनासहित विशेष प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो ।

Page 4
वाग्मती प्रदेश

'बाँच्नलाई रगत पनि पाइँदैन'

सिकलसेल जस्तै थारू समुदायका बालबालिकामा बढी देखिएको थालासेमियाको उपचार सुलभ छैन
- रमेशकुमार पौडेल
भरतपुर अस्पतालमा भएको भेलामा थालासेमिया भएका एक बालक कुरा सुन्दै । तस्बिर ः रमेशकुमार/कान्तिपुर

(चितवन) - रगतसँग सम्बन्धित रोग थालासेमियाका बिरामीलाई बचाउन बेलाबेलामा रगत दिइरहनुपर्छ । जीवन जोगाउन दिइने त्यही रगतले बिरामीलाई समस्या हुने गरेको छ । रगत दिएपछि आउने जटिलता निराकरण गर्न उपकरण र औषधि उपलब्ध भए पनि चितवनका बिरामी यो सुविधाबाट वञ्चित छन् ।
भरतपुर अस्पतालमा आइतबार दिउँसो ५०/६० जना भेला भएका थिए । उनीहरूमध्ये थालासेमियाबाट पीडित पहिचान गर्न गाह्रो थिएन । ‘हामी थालासेमिक फेस भन्छौं । हेर्दैमा चिन्न सकिन्छ । टाउको, हड्डी फुलेको छ । हड्डी विकसित भएर गाला फुलेर आउँछ । बाटोमा हिँड्दै थालासेमिया बिरामी बच्चा भनेर थाहा भइहाल्छ,’ भरतपुर अस्पतालका बालरोग विज्ञ डा. युवानिधि बसौलाले भने ।
यस्तो चिह्न थालासेमियाको लक्षणभन्दा पनि उपचारपछि उत्पन्न भएको प्रभाव हो । २१ वर्षीय असिम बस्नेत थालासेमियाबाट पीडित छन् । उनले रगत लिन थालेको १८ वर्ष भयो । तर उनी थालासेमिया भएका अरूभन्दा अलिक फरक छन् । शरीरकै अवस्थाले उनी यसबाट ग्रसित छन् भनेर थाहा पाउन सकिँदैन । उनको अनुहारको हड्डी सामान्य देखिन्छ । ‘जब रगत लिँदै गइन्छ त्यसपछि शरीरमा आइरन (फलाम तत्त्व) जम्मा हुन थालेर समस्या आउने हो । आइरन बढ्दै गएपछि शरीरको स्वरूप बिग्रने हो । थालासेमियाका बिरामीको अनुहारको अवस्था एउटै जस्तो किन हुन्छ भन्दा आइरनको तह जम्मा भएर नै हो,’ असिमले आफूले भोगेको कुरा सुनाए । यस्तो नहोस् भन्नका लागि उनी रगत लिन काठमाडौं जाने गर्छन् । रगत लिन उनी महिनाको दुई पटक काठमाडौं धाउँछन् । ‘काठमाडौंमा फिल्टर गरेको ब्लड लिन पाइन्छ । त्यस्तो ब्लडमा आइरनको मात्रा कम हुन्छ । त्यसैले म काठमाडौं धाउँछु,’ असिमले भने, ‘भरतपुरमा यस्तो सुविधा छैन । बाँच्नलाई रगत पनि पाइँदैन ।’
भरतपुर अस्पतालको सम्पर्कमा आएका थालासेमियाका बिरामीको संख्या ८१ छ । उनीहरू अस्पताल आएर महिनामा दुईपटक रगत लिने गर्छन् । फिल्टरको सुविधा नभएका कारण रगत लिएपछि उनीहरूमा शारीरिक जटिलता देखापरेको छ ।

उपकरण ल्याउन माग
थालासेमिया भएकालाई दिइने रगत शुद्ध गर्न आवश्यक पर्ने उपकरण छिटो ल्याउनुपर्ने माग बिरामीका आफन्तको छ । थालासेमियाका बिरामीका लागि चाहिने रगत किन्न बेल्जियममा रहेका चितवनवासीको संस्था चितवन सहायता कोष (क्याट) बेल्जियमले २०६७ देखि बजेट दिँदै आएको छ । क्याटले भरतपुरमा बेलाबेलामा थालासेमियाका बिरामी र उनीहरूका अभिभावकको भेला राख्छ ।
आइतबार पनि भरतपुर अस्पतालमा त्यस्तै भेला भएको थियो । सुनीता घिमिरे थालासेमिया भएको दुई वर्षको सन्तान बोकेर भेलामा आइन् । ‘यी बालबच्चालाई १८ वर्षभन्दा बढी बचाउन सकिँदैन भनेर बस्ने कि, उपकरण र औषधि व्यवस्था गरेर उनीहरूको जीवन लम्ब्याउने काम गर्ने ?’ भावुक हुँदै उनले प्रश्न गरिन् । मेसिन किन्न सरकार अग्रसर होस् भन्ने माग उनले पटकपटक गरेकी छन् ।
भरतपुर अस्पतालका बालरोग विज्ञ डा. युवानिधि बसौलाका अनुसार अस्पतालको सम्पर्कमा रहेका ८१ जना बिरामीमध्ये आदिवासी थारू समुदायका बालबच्चा अत्यधिक छन् । सबैभन्दा धेरै ४८ जना थारू बालबालिका रहेको उनले जानकारी दिए । नवलपरासीभन्दा पश्चिम गएपछि थारू समुदायमा देखिने रोग सिकलसेलसँग थालासेमिया पनि मिल्दोजुल्दो छ । ‘सिकलसेललाई सरकारले हेरेको छ । त्यही समुदायभित्र सिकलसेल जस्तै थालासेमिया भएकाहरूलाई ध्यान दिएको छैन,’ उनले भने, ‘बिरामीको संख्या बढ्दै गएको छ, त्यसैले हेर्नुपर्छ ।’ रामकुमारी महतो रगत दिन सन्तानलाई भरतपुर अस्पताल ल्याइरहन्छिन् । ‘ब्लड लिन आउँदा अस्पतालमा भनेको समयमा बेड त पाइँदैन, अरू ठूला सुविधाको आशा के राख्नु,’ उनले निराशा पोखिन् । थालासेमिया वंशाणुगत समस्या हो । ‘बुबाआमालाई यो समस्या छ भने बच्चामा हुने सम्भावना ५० र बुबाआमामध्ये एक जनालाई छ भने बच्चामा हुने सम्भावना २५ प्रतिशत रहन्छ,’ डा. बसौलाले भने । त्यसैले थालासेमिया भएकाहरूले विवाह नगर्ने कि भन्ने बहस पनि छ । गर्भ रहेको १६ साताभित्र भ्रूणको परीक्षण गर्दा यो समस्या भए, नभएको पत्ता लाग्ने अवस्था पनि छ ।
देशभर थालासेमियाका १० हजार जना बिरामी भएको अनुमान छ तर पाँच सय जना मात्रै अस्पतालको सम्पर्कमा छन् । ‘पहिचान भएकाहरूले पनि राम्रो उपचार पाउन सकेका छैनन् । उनीहरूका अभिभावकले सहानुभूतिसम्म पाइन भन्नुभएको छ । अवस्था साह्रै नै दुःखद छ,’ डा.बसौलाले भने ।

के हो थालासेमिया ?
बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाका अनुसार थालासेमिया वंशाणुगत समस्या हो । बाबु–आमालाई भए बच्चालाई पनि हुने सम्भावना बढी हुन्छ । ‘शरीरमा रातो रगत अर्थात् हेमोग्लोबिन नबन्ने समस्या थालासेमिया हो । पश्चिम नेपालतिर देखिएको सिकलसेल जस्तै समस्या हो,’ उनले भने । थालासेमियाको समस्या धेरैजसो थारू समुदायका बच्चाहरूमा छ ।
सिकलसेल पनि थारू समुदायमा धेरै छ । थालासेमिया भएका बच्चामा रक्त अल्पताको समस्या हुन्छ । कलेजो र फियो बढ्छ । ‘६ देखि १२ महिना कटेपछि बच्चाहरूमा यो समस्या देखा पर्छ । यो समस्याको उपचार भनेको हाम्रो देशमा अहिलेका लागि रातो रगत चढाउनु मात्रै हो । त्यसैले बिरामी बच्चाहरू ल्याएर अभिभावक अस्पताल आउने गर्छन्,’ डा. बसौलाले भने ।
रगत दिँदा जीवन लम्बिन्छ तर रगत दिँदै जाँदा आइरनको मात्रा फियो, कलेजो, मुटु र फोक्सोमा थुप्रिने गर्छ । आइरन धेरै भएर नै ज्यानै जान सक्ने सम्भावना पनि प्रबल हुन्छ । ‘त्यसैले प्रायः त्यस्तो समस्या भएका बालबालिका १४ वर्षको उमेर कटेपछि मृत्यु भएका घटना छन्,’ उनले भने । रगतमा बढी भएको आइरन तत्त्व निर्मूल गर्ने औषधि पनि छ तर त्यो महँगो र मुलुकमा सर्वसुलभ छैन । यसबाहेक बोनम्यारो प्रत्यारोपण अचुक विधि भएको डा. बसौलाले बताए । यसका लागि १० लाखभन्दा धेरै खर्च हुन्छ । नेपालमा सुरु भएको पनि छैन । ‘असिम भाइले भनेको जस्तो रगत लिनका लागि एउटा मेसिन चाहिन्छ,’ उनले भने, ‘त्यो मेसिनले फिल्टर गरेको रगत लिए बिरामीमा साइड इफेक्ट देखिँदैन । मेसिन किन्न लगभग डेढ/दुई करोड रुपैयाँ लाग्छ ।’ राम्रोसँग उपचार पाए थालासेमियाबाट तंग्रिएकाहरू ६० वर्षसम्म बाँच्ने उनले बताए ।

वाग्मती प्रदेश

चितवनमा रोकिए महोत्सव

- कान्तिपुर संवाददाता

चितवन (कास)– कोरोना भाइरसको संक्रमणलाई ध्यान दिई चितवन जिल्ला प्रशासन कार्यालयले कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न र सामूहिक रूपमा भेला हुन रोक लगाएपछि मेला–महोत्सव स्थगित भएका छन् । ‘विश्वको साझा चुनौतीका रूपमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन स–साना पारिवारिक जमघटबाहेक अन्य कुनै पनि जात्रा, पर्व, मेला, महोत्सव वा यस्तै कुनै पनि कार्यक्रम सञ्चालन नगर्न अनुरोध छ,’ सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।
केही दिनमा चितवनको लोथरमा परेवाकोट महोत्सव सुरु हुँदै थियो । त्यसैगरी भरतपुरमा सांस्कृतिक महोत्सव र मेघौलीमा पर्यटन महोत्सव सञ्चालन भइरहेको थियो । यी मेला महोत्सव पनि स्थगित गर्न प्रशासनले चेतावनी दिएको छ । सूचनाविपरीत यस्ता कार्यक्रम सञ्चालन गरे नियमअनुसार कारबाही गर्ने प्रशासनले जानकारी गराएको छ । प्रशासन कार्यालयले ठूलो संख्यामा फागु खेल्न पनि बन्देज लगाएको छ ।
कार्यालयले आउनै लागेको होली पर्वलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको सचेतनाका रूपमा मनाउन सर्वसाधारणलाई अपिल गरेको छ । प्रशासनको सूचनापछि जिल्लामा हुँदै गरेका र हुन लागेका मेला–महोत्सव स्थगित भएका छन् ।
‘यो रोगबाट बच्न सचेतनामूलक सन्देशसहित फोन र सामाजिक सञ्जालबाट शुभकामना आदनप्रदान गर्न’ भन्दै चितवन जिल्ला प्रशासनले होलीका सन्दर्भमा मंगलबार साँझ सूचना जारी गरेको हो ।
यसैबीच, भरतपुर अस्पतालले बुधबार चिकित्सक तथा स्वास्थ्य प्राविधिकबीच कोरोनाविरुद्ध सचेतना कार्यक्रम गरेको छ । अस्पतालले महिना दिनअघि नै कोरोनाजोखिम विरुद्ध तयारी गरेको थियो । ‘कोभिड–१९ को संक्रमण रोक्न विभिन्न खाले तयारी भएका छन् । तर सधैं अब के हुन्छ भन्ने अवस्था छ, यो संक्रमण कहिले रोकिन्छ भन्ने ठोकुवा पनि गर्न सकिँदैन,’ भरतपुर अस्पतालका चिकित्सक कल्याण सापकोटाले भने । अस्पतालमा एक महिनाअघि पाँच शय्याको ‘आइसोलेसन वार्ड’ स्थापना भएको थियो । यसबीच शंकास्पद दुई जनाको परीक्षण भए पनि उनीहरूमा संक्रमण नदेखिएको उनले बताए ।

वाग्मती प्रदेश

१४ शीर्षकमा जनप्रतिनिधिलाई सुविधा

- सुवास विडारी

(मकवानपुर) - वाग्मती प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीको सेवासुविधा यसअघि कायम भएको अंकबाट पनि बढ्ने गरी संशोधन विधेयक प्रस्ताव गरेको छ । यसअघि गाउँपालिका अध्यक्षले मासिक तलब ३० हजार रुपैयाँ पाउने गरी कानुन बनेको थियो । संशोधित विधेयकमा विभिन्न १४ शीर्षकमा सुविधा राखेर ३५ हजार पुर्‍याइने प्रस्ताव गरिएको छ । दैनिक भ्रमण भत्ता १८ सय र विदेश भ्रमण भत्ता ८० डलर प्रस्ताव गरिएको छ । यसअघि व्यवस्था नभएको सवारी सुविधा थप हुने संशोधित विधेयकमा उल्लेख छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगर, उपमहानगर र महानगरका मेयर, उपमेयर र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखलाई सवारी सुविधाको प्रस्ताव गरिएको छ ।
सर्वोच्च अदालतले कात्तिक १ देखि पारिश्रमिक दिने व्यवस्था खारेज गरेपछि प्रदेशले ऐन संशोधन विधेयक प्रदेशसभामा दर्ता गरेको हो । यसअघि नगरपालिकाका मेयरले ३५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने व्यवस्था भएकोमा संशोधित विधेयकमा ४० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाका मेयरले ४० हजार पारिश्रमिक पाउने व्यवस्थामा संशोधन गर्दै ४३ हजार, महानगरपालिकाका मेयरले ४२ हजार रुपैयाँ पारिश्रमिक पाउने व्यवस्थामा संशोधन गर्दै ४५ हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुखले ४२ हजार रुपैयाँ पाउने व्यवस्था संशोधन गर्दै
४५ हजार रुपैयाँ बराबरको सुविधा दिने प्रस्ताव गरिएको छ ।
भ्रमण भत्ता, डिजेल, पेट्रोल, मोबिल र बिमा सुविधाको पनि अलग्गै व्यवस्था प्रस्ताव गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुखलाई आवासको समेत व्यवस्था गरिने प्रस्ताव संशोधित विधेयकमा उल्लेख छ । विधेयकमा बैठक भत्ता, टेलिफोन खर्च, खाजा खर्च, पुस्तक, पत्रपत्रिका, इन्टरनेट, समन्वय तथा अनुगमन भत्ता, खानेपानी, बिजुली शुल्क, सरसफाइ मर्मत र अतिथि सत्कारका लागि अलगअलग सुविधा प्रस्ताव गरिएको छ । प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यलाई समेत सुविधा दिइने उल्लेख छ । यसअघि वडा सदस्यलाई यस्तो सुविधा थिएन । गाउँसभा, नगरसभा, उपमहानगरसभा र महानगरसभाका अध्यक्ष, उपाध्यक्ष र सदस्यका लागि बैठक भत्ता अलग्गै प्रस्ताव गरिएको छ ।
यसअघि न्यायिक समितिलाई इजलास भत्ता ५ सय रुपैयाँ दिइँदै आएकोमा संशोधित विधेयकले गाउँपालिकाको न्यायिक समिति अध्यक्षलाई १२ सय र सदस्यलाई एक हजार, नगरपालिकाका अध्यक्षलाई १४ सय र सदस्यलाई १२ सय, उपमहानगरपालिकाका अध्यक्षलाई १६ सय र सदस्यलाई १४ सय र महानगरपालिकाको न्यायिक समिति अध्यक्षलाई २ हजार र सदस्यलाई १६ सय रुपैयाँ भत्ता प्रस्ताव गरिएको थियो । समितिको बैठक प्रतिमहिना
बढीमा चार वटा बस्न पाइने व्यवस्था अघिल्लो कानुनमा थियो भने अहिले यस्तो सीमा निर्धारण गरिएको छैन ।
अधिवक्ता लोकेन्द्रबहादुर वलीले यसअघि प्रदेशले संविधानविपरीत कानुन बनाएको भन्दै बदरको माग राखेर सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले उक्त प्रावधान कार्यान्वयन नगर्न आदेश दिएको थियो । यो विधेयक पारित भएमा स्थानीय तहका जनप्रतिनिधिले रोकिँदै आएको सुविधा पाउनेछन् ।

वाग्मती प्रदेश

होली नखेल्न प्रशासनको आग्रह

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न प्रशासनले यस्तो निर्णय गरेको हो । साथै, भीडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न पनि आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समिति बैठकले कोरोना भाइरस रोकथाम र जोखिमबाट बच्न विभिन्न उपाय अपनाउने तथा सम्बन्धित निकायले आवश्यक जिम्मेवारी निर्वाह गर्ने निर्णय गरेको छ । अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होलीलगायतका पर्वमा भेला नहुन, त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन सबैलाई अनुरोध गर्ने निर्णय भएको सहायक प्रजिअ जीवन आचार्यले बताए ।

वाग्मती प्रदेश

थानकोट–चित्लाङ सडक खुल्यो

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– सडक निर्माणका क्रममा दसैंयता बन्द रहेको थानकोट–चित्लाङ सडक खण्ड सञ्चालनमा आएको छ । एक साताअघिदेखि बिहान–बेलुका सवारी आवागमनका लागि बाटो खुलाइए पनि मंगलबारबाट चौबीसै घण्टा सञ्चालनमा आएको स्थानीय व्यवसायी देवेन्द्र नेपालले जानकारी दिए । २०७६ मंसिरसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको ठेकेदारले काम नसकाउँदा चित्लाङ र आसपासका बासिन्दाले सास्ती खेप्दै आएका थिए । 

वाग्मती प्रदेश

प्रितीभोजको खर्च अक्षयकोषलाई

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– हेटौंडा उपमहानगरपालिका–६ चौघडाका बद्रीबहादुर पाठकले छोराको बिहे भोजको खर्च रकम शैक्षिक अक्षयकोषलाई प्रदान गरेका छन् । छोरा रविनको प्रितीभोजमा हुने खर्चबापतको एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ उनले मंगलबार कोषलाई हस्तान्तरण गरे । रविनको सोमबार चौघडाकै रुपा चौलागाईंसँग विवाह भएको थियो । छोरा–बुहारीकै सल्लाहमा रकम कोषमा हस्तान्तरण गरेको पाठकले बताए । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमका बीच कोषका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई उक्त रकम हस्तान्तरण गरेका थिए । गरिब, जेहेन्दार तथा मेहनती विद्यार्थीलाई सहयोग पुर्‍याउन स्थापना गरिएको कोषमा करिब १० लाख रुपैयाँ जम्मा भइसकेको छ ।

वाग्मती प्रदेश

महिला सहकारीलाई २ लाख

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले महिलाद्वारा सञ्चालित १३ वटा सहकारीलाई पुरस्कृत गर्ने भएको छ । नारी दिवसको अवसरमा पारी मन्त्रालयले १३ जिल्लाका एक/एक वटा उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न लागेको हो । विपन्न र सीमान्तकृत समुदायको बाहुल्य रहेको, सम्बन्धित वडालाई पूर्ण रूपमा समेटेको, स्रोत परिचालन, असुली र निक्षेप राम्रो भएका सहकारीलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी बताए । वाग्मती प्रदेशमा ३ सय ८१ वटा सहकारी महिलाले सञ्चालन गरेका छन् । 

वाग्मती प्रदेश

ट्राफिक स्वयंसेवकलाई प्रमाणपत्र

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ट्राफिक प्रहरीले स्वयंसेवकको रूपमा खटिएका तीन सय विद्यार्थीलाई सम्मान गरेको छ । काठमाडौं स्कुल अफ ल र चक्रवर्ती कलेजको कानुन संकायबाट खटिएका ट्राफिक स्वयंसेवकलाई सम्मान गरिएको हो । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन मंसिर ८ देखि १३ गतेसम्म उपत्यकाका २५ स्थानमा तीन सय विद्यार्थी ट्राफिक स्वयंसेवकका रूपमा खटिएका थिए । कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल र काठमाडौं स्कुल अफ लका निर्देशक युवराज संग्रौलाले ट्राफिक विद्यार्थीलाई प्रमाणप्रत्र प्रदान गरेका थिए ।

Page 5
उपत्यका

हरायो मौलिकता, छैनन् बर्सादी

नेपालगन्जमा कुनै बेला बर्सादीको बेग्लै महत्व थियो, आधुनिक सहरभित्र आज यो गुमनाम छ । मुगल शैलीका घर पनि यहाँ हराइसके ।
- मधु शाही,रूपा गहतराज
नेपालगन्जको गगनगन्जमा रहेको परम्परागत जीर्ण घर (माथि) । त्रिभुवन चोकस्थित पुरानो घर, जहाँ मुगल कलामा सन् १९५० लेखिएको छ (तल बायाँ) र बर्सादीसहितको सय वर्षपहिलेको घर । तस्बिर ः मधु/कान्तिपुर

(बाँके) - कुनै समय नेपालगन्जवासीलाई छाताको आवश्यकतै पर्दैनथ्यो । चाहे त्यो मुसलधारे झरीको बेला होस् या टन्टलापुर घाम लाग्दा । उनीहरू घर–घरमै बनेका बर्सादीले छाताको आवश्यकता पूरा गर्थे । गगनगन्जका ६० वर्षीय राजेन्द्र शर्मा सानैमा स्कुल जाँदा बर्सादीमै ओत लाग्दै घर आउने गरेको सम्झन्छन् । उनले भने, ‘अचेल सामान्य बिसौनीसमेत पाउन मुस्किल छ ।’
साहित्यकार एवं पूर्वप्राज्ञ सनत रेग्मी उतिबेला बडाहाकिम प्रकाशशमशेर राणाले बर्सादीसहितको घरको डिजाइन बनाउन लगाएको सम्झन्छन् । प्रकाशशमशेर लखनउ घुम्न गएका बेला यस्ता डिजाइनका घर देखे । पानीमा ओत लाग्ने र टाढाबाट आउने व्यापारीलाई आश्रयसमेत हुने देखेर उनले नेपालगन्जमा यस्तै शैलीका घर बनाउन आदेश दिएको रेग्मीले सुनाए । ‘बर्सादीभित्र पसल हुन्थ्यो,’ उनले भने, ‘पहाडदेखि आउने हटारू हप्तौं त्यहीँ बसेर व्यापार गर्थे ।’
अचेल नेपालगन्ज आधुनिक सभ्यतातिर लम्किएको छ । कच्ची सडक पिच भए । झुप्रा घर बिल्डिङमा परिणत भए तर बर्सादीको मौलिकता आधुनिक सहरभित्र गुमनाम छ । पुराना संरचनामा बनेका मुगल शैलीका घरसमेत हराउन थालेका छन् । संस्कृतविद् सच्चिदानन्द चौवेका विचारमा सहरको सभ्यता त्यहाँ बनेका प्राचीन भवनका शैलीले झल्काउँछ । मौलिकतालाई मासेर भन्दा पनि जोगाएर आधुनिक सहर बनाउनुपर्ने हो । जब सडक निर्माण गर्ने धुनमा नेपालगन्जको प्राचीन व्यापारिक बजार सदरलाइनका बर्सादी घर भताभुंग भए, त्यसपछि उनी मौन छन् । भारतको लखनउदेखि मुस्लिम मिस्त्री बोलाएर घर बनाउन लगाइन्थ्यो । त्यतिबेलाको मुगल शैलीका आकृति ऐतिहासिक थिए । यद्यपि, आधुनिक सहरभित्र केही प्राचीन भवन भने अझै बाँकी छन् ।
नेपालगन्जको अत्याधुनिक बजार त्रिभुवन चोकदेखि अलिकति भित्र जाने हो भने त्यहाँ तीनवटा प्राचीन घर छन् । घरका भित्ता मुगल शैलीका बुट्टाले सजिएका छन् । सन् १९५० मा बनेको यो पुरानो भवनले नेपालगन्जको प्राचीन अवशेष बाँकी रहेको महसुस गराउँछ । यस घरमा वृजराज गुप्ताको चार पुस्ता समेटिएको छ । ५२ वर्षे गुप्ताका अनुसार उनका जिजुबुबाले यही भवनमा कपडा पसल गर्थेर् । रुकुम, सल्यान, रोल्पा, दाङ, धनगढी, हुम्ला, जुम्ला, दैलेखदेखि खाद्यान्न लिएर बेच्न आउने हटारु यही बर्सादीमा बस्थे । हप्तौंसम्म बसेर पहाडबाट ल्याएको घिउ, मह, जडीबुटी साटेर कपडा र नुन लिएर जान्थे । चार पुस्ता पुरानो घर जोगाउन उनलाई अहिले हम्मेहम्मे भएको छ ।
बाँके सन् १८५७ मा भारतको लखनउमा भएको सैनिक विद्रोह दबाउन श्री ३ महाराज जंगबहादुर राणाले ब्रिटिसलाई सहयोग गरेपछि पाएको कोसेली स्वरूपको नयाँ मुलुक हो । नेपालको हुनुअघि यो ठाउँ भारतको उत्तर प्रदेशको तुलसीपुर र बलरामपुरअन्तर्गत थियो । अंग्रेजहरूको समयमा तुलसीपुर राज्य थियो । पछि रामपुर राज्य बन्यो । अड्डा कारिन्दा यहाँ आएर बस्थे । अहिले त्रिभुवन चोक जहाँ छ, त्यहाँ तुलसीपुर स्टेटको ‘कोतवाली’ थियो । गोलो परिधिमा जम्मा ६ वटा भवन थिए । साना दुई भवनमा पुलिस बस्थे । बजार थिएन । चौवेका अनुसार उतिबेला घर डिजाइनमा बर्सादी अनिवार्य थियो । अगाडिको भागमा पानी ओत लाग्ने बर्सादी बनाएर पछाडि घर निर्माण गरिन्थ्यो ।
विसं २००० तिर यहाँ तीन सयजति घर थियो । व्यापारका दृष्टिले त्रिभुवन चोकमात्रै थियो । अन्य ठाउँ पोखरी र तलाउले भरिएका थिए । मारवाडी समुदाय व्यापार गर्न आएपछि यहाँको बस्ती बढ्न थालेको संस्कृतिविद् चौवेले बताए ।
भारतले बाँके जिल्ला नेपाललाई फिर्ता गरिदिएपछि नेपालगन्जको मुख्य बजार नै त्रिभुवन चोक बन्यो । विसं १९९० मा यस चोकको नाम जुद्धशमशेर राखियो । जुद्धशमशेरकै अष्टधातुको सालिक निर्माण गरियो । २००७ को क्रान्तिताका आन्दोलनकारीले सालिक तोडफोड गरे । ‘जुद्धशमशेरको सालिक भाँचिएर श्रीपेच भुइँमा खसेको थियो,’ संस्कृतिविद् चौवेले भने, ‘झन्डै सय तोला सुनजडित श्रीपेच केही दिन त्यहीँ रह्यो, पछि त्यो कसले लग्यो लग्यो ।’ त्यसपछि ट्राफिक चोक बनाइयो । पूर्णमान आजाद श्रेष्ठ मेयर भएका बेला त्रिभुवनको सालिक राखी त्रिभुवन चोक नाम राखियो । सशस्त्र द्वन्द्वका क्रममा त्रिभुवन चोक भत्काइयो । अहिले यो चोक सालिकविहीन छ ।
सालिकझैं नेपालगन्जका प्राचीन संरचना पनि गुम्दै गएकामा पाको पुस्ता चिन्तित छ । नेपालगन्ज उपमहानगरपालिका–४ गगनगन्जका राजेन्द्रकुमार शर्माले केही महिनाअघि पुर्ख्यौली घर भत्काए । घरको अघिल्लो भाग मुगल शैलीको थियो । मसिना बुट्टाले चिटिक्क सजिएको भित्ता फाल्न उनलाई मन थिएन । एकताका उनको त्यही घरको डिजाइन हेर्न पर्यटकको भीड लाग्थ्यो । ‘बाजेले बनाएको घर, साह्रै ऐतिहासिक थियो,’ उनले भने, ‘टुरिस्टले फोटो खिचेर लान्थे ।’ अहिले भत्काएर आधुनिक घर बनाएका छन् । पुरानो आवरण जोगाइराख्न मिहिनेत लाग्छ । पैसा पनि उत्तिकै खर्च हुन्छ । नगरपालिकालाई शर्माले सहरको सभ्यतासँग जोडिएकाले सहयोगको अपिलसमेत गरेका थिए । जवाफ सकारात्मक नपाएपछि बाध्य भएर पुर्ख्यौली घर भत्काउनुपरेको उनी सुनाउँछन् । ‘रोम, रुस, इटालीजस्ता देशमा पुराना घरका संरचना सरकारले नै जोगाउँछ,’ उनले भने, ‘हामीकहाँ कसैलाई मतलब छैन ।’ नेपालगन्जमा के हेर्न आउने भन्ने विषय बिस्तारै हराउँदै गएको राजेन्द्रकी छिमेकी सुनिता
सुनारले बताइन् ।
उनको घर पनि अहिले जीर्ण छ । बाजेको पालामा बाटो हिँड्ने बटुवाले समेत फर्कीफर्की घरमा नजर लगाउँथे रे । त्यसको ठिक अगाडि डेढ सय वर्ष पुरानो घर छ, ढल्न लागेको । त्यो पनि उनकै हो । सुनिता अविवाहित हुन् । दाजुसँग अंशबण्डा गर्दा उनको भागमा बाबाको घर पर्‍यो । दुईतले पुर्ख्यौली घर उनी सम्हाल्न सक्दिनन् । छतका भित्ता उक्किएका छन् । नेपालगन्जको पुरानो टोल एकलैनीमा अझै पनि यस्ता सय वर्ष पुराना घरका अवशेष बाँकी नै छन् ।
जानकी गाउँपालिका, बनियाँगाउँमा विजय बर्माको सय वर्ष पुरानो पुर्ख्यौली घर छ । विसं १८६० मा बनेको यो घरमा बेखाबखत फिल्म सुटिङ हुने गर्थ्यो । अहिले यो जीर्ण छ । बर्माका अनुसार नेपालगन्जका प्राचीन घर भारतको मुगल कलाशैलीबाट प्रभावित छन् । नेपालगन्जको राज भवन, मेघालय, ओमजंग राणाहरूको कोठी, पुराना जमिनदारका केठी मुगल शैलीमा बनेका हुन् । पहिलेका घरको संरचना देखाएरै पर्यटक भित्र्याउन सकिने बर्माको ठम्याइ छ । ‘तर, सहरको मौलिकता गुम्दै छ,’ उनले भने । ७८ वर्षे जगदीशप्रसाद शुक्लाका अनुसार नेपालकै पुरानो सहर नेपालगन्जमा एकातिर नेपालको मौलिकता छ भने अर्कोतर्फ भारतको लखनउ मुगल शैलीको प्रभाव । यी दुवै सभ्यता र संस्कार मिश्रित समाजलाई जोगाउन सके पर्यटकले हेर्नलायक प्रशस्त ठाउँ पाउने उनले बताए । ‘पर्यटक आकर्षण गर्न यहाँको मौलिकता जोगाउनुपर्छ,’ उनले भने, ‘नभए के देखाउने पर्यटकलाई ?’
पूर्वप्राज्ञ सनत रेग्मीले आफ्नो पुस्तक ‘सद्भावको नेपालगन्ज’ मा समेत नेपालगन्जको मौलिकता हराउँदै गएकामा चिन्ता पोखेका छन् । उनका अनुसार आधुनिक सहरको विकाससँगै यहाँको मौलिकता अवशेषको रूपमा छ । अटोरिक्साको भीडमा फाट्टफुट्ट टाँगा चलेको देखिन्छ । खास गरी घुम्न आउने पर्यटक र भारतको सीमा रुपैडियातर्फ लाग्ने पहाडिया टाँगा चढ्छन् । त्यसो त कुनै बेला टाँगा नै यहाँको मुख्य यातायातका साधन थिए । नेपालगन्जदेखि रुपैडिया व्यापार गर्न टाँगा र एक्काको प्रयोग हुन्थ्यो । रेग्मीका अनुसार राणाकालीन समयमा वर्ग विशेष अनुकूल आकर्षक घोडा ल्याइन्थ्यो । बिस्तारै सडकको विकाससँगै एक्का र टाँगा संस्कृति लोप हुँदै छ । भेरी अस्पतालको छेउमा टाँगा स्टेसन नै छ । ‘त्यहाँ अचेल रिक्साकै भरिभराउ देखिन्छ,’ रेग्मीले भने, ‘नेपालगन्ज चिनाउने टाँगा संस्कृति पनि हो । यसलाई जोगाउन सके पर्यटक केन्द्र बन्ने सम्भावना छ ।’

अवधी जीवनशैली
नेपालगन्जको जीवनशैली, रहनसहन, भाषा, भेषभूषा र सभ्यता मूलतः अवध संस्कृतिमा केन्द्रित छ । संस्कृतविद् चौवेका अनुसार अवध भनेको ‘वध’ नगर्नु हो । जहाँ हिंसा हुँदैन, त्यहाँको समाज अवध हो । माछामासु नखाने, धोती, कुर्ता, सारी लगाउने र कृषिमा आधारित जीवनशैली रहेको नेपालगन्ज बिस्तारै फेरिँदै छ । यहाँ बोलिने अवधि भाषामा समेत मिसावट देखिन थालेको उनले बताए । सयम परिवर्तनसँगै नेपालगन्ज व्यापारको केन्द्र बन्न पुग्यो । जहाँ मुस्लिम समुदाय, काठमाडौंका नेवार, सुदूरपश्चिमका पहाडिया सबै आएर बसोबास गर्न थाले । जसले गर्दा भाषासँगै जीवनशैलीमै परिवर्तन देखिएको छ । ‘अब शुद्ध अवधी बोल्ने कमै भेटिन्छन्,’ उनले भने, ‘जुन जहाँबाट आए त्यही भाषा बोल्छन्, मिसमास भएको छ ।’ उनलाई सम्झना भएसम्म बिहेमा चार दिनसम्म वरात चल्थ्यो । अहिले एकै दिनमा सकिन्छ । ‘घर आँगनमा बिहे नगर्दासम्म पवित्र मानिँदैनथ्यो,’ उनले भने, ‘अचेल पार्टी प्यालेसको आकर्षण बढ्दैछ,’ उनले भने, ‘साउन महिनामा रुखभरि झुला (पिङ) हुन्थे । महिलाहरू पिङ खेल्थे भने पुरुष कुस्ती खेल्थे । ठूलठूला पीपलका रुखका सट्टा बिजुलीका पोलमात्रै देखिन्छन् ।’

जुँगे महादेवको आकर्षण
नेपालगन्ज घुम्न आउने जो कोहीका लागि बागेश्वरी मन्दिर पहिलो रोजाइमा पर्ने गर्छ । धार्मिक, सांस्कृतिक रूपमा मात्रै होइन, पर्यटकीय गन्तव्य नै बनेको छ बागेश्वरी मन्दिर । पहिला खरको झुप्रोमा थियो । विसं २०१८ सालमा यसलाई व्यवस्थित गरियो । पुरानोलाई भत्काएर तलैपिच्छे प्यागोडा शैलीमा बनाइयो ।
बागेश्वरी मन्दिर पश्चिम नेपालको प्रमुख शक्तिपीठमध्येमा पर्छ । मन्दिरका महन्त हरिहरनाथ योगीका अनुसार, यहाँ सतीको जिब्रो खसेकाले यो शक्तिपीठको नाम पहिला वाक्येश्वरी थियो । पछि अपभ्रंश हुँदै बागेश्वरी भएको हो । मन्दिर परिसर अगाडि ठूलो तलाउ छ । तलाउका बीच भागमा जुँगा भएको खड्गेश्वर महादेवको मूर्ति छ । जसलाई जुँगे महादेव भनिन्छ । बागेश्वरी सबैको विश्वास र आस्थाको धरोहर मानिन्छ । नेपालका मात्रै होइन, बर्सेनि ठूलो संख्याका भारतीयले मन्दिरमा पूजा गर्छन् । कतिपयले मन्दिरमा आएर जिब्रो चढाउँछन् । विशेष गरेर नवरात्रिमा नेपाल र भारतबाट आएका दर्जनौंले जिब्रो छेड्ने गर्छन् । नेपालगन्जका सूर्यलाल गुप्ता (फेटेरा) ले जिब्रो नै काटेर चढाएको महन्त योगीले सुनाए ।

बिरयानीको स्वाद
सीमासँग जोडिएको सहर भएर होला भारतीय परिकारको प्रभाव नेपालगन्जमा पनि देख्न पाइन्छ । बिरयानी नेपालगन्जको नाम चलेको परिकारमध्ये एक हो । मुस्लिमहरूको मुख्य परिकारको रूपमा चिनिने बिरयानी चामल र मासु मिसाएर बनाइन्छ । नेपालगन्जमा मुवारक बिरयानी चर्चित छ । बिरयानी धेरै ठाउँमा पाइने भए पनि पकाउने व्यक्तिको कौशलका आधारमा स्वाद फरक हुने गरेको छ । गत वर्ष नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी नेपालगन्ज आउँदा मुवारक बिरयानीको स्वाद लिएको विषयले निकै चर्चा पायो ।
‘यो मेरो व्यवसाय मात्र होइन, नेपालगन्जलाई चिनाउने जिम्मेवारी पनि हो,’ मुबारक बिरयानीका सञ्चालक मुबारक अलि अन्सारीले भने, ‘स्वादको गुणस्तरमा कुनै कन्जुस्याइँ गर्दिनँ । तेलदेखि मासु होस् वा चामल, उच्च गुणस्तरकै हुन्छ ।’

रावडी
दूधबाट बनेको विशेष परिकार हो, रावडी । बिलकुलै प्राकृतिक तरिकाले यो परिकार बनाइन्छ । यहाँ तीन पुस्तादेखि रावडी बेच्दै आएको पाहुनाजीको पसल प्रख्यात छ । सदरलाइनको राधाकृष्ण मन्दिरमा सचिन हलवाई रावडी बेचिरहन्छन् । हिजो अनि आजको रावडीमा के फरक छ त ? उनले सहजै जवाफ दिए, ‘हिजो पनि भैंसीकै दूधबाट बनाइन्थ्यो, आज पनि त्यही भैंसीकै दूधबाट रावडी बनाइन्छ । तर मान्छे बदलिएका छन् । लालची भएका छन् ।’ उनका अनुसार व्यवसाय गर्नेले मिसावट गर्छन् । त्यसैले स्वादको भिन्नता छुट्याउन समय लाग्दैन । हजुरआमाले गरेको उनको कामलाई बुबाले पछ्याए । बुबा नसक्ने भएपछि सचिन त्यो बिँडो थाम्दै छन् । ‘यो हाम्रा लागि व्यवसाय मात्र होइन, पारिवारिक काम हो,’ उनले भने, ‘यो पेसा हाम्रो प्रतिष्ठासँग जोडिएको छ । नेपालगन्जको पहिचानसँग जोडिएको छ ।’ पहिला रावडी दुनामा बेचिन्थ्यो, अहिले प्लास्टिकको कचौरामा । ‘पहिलोपटक नेपालगन्ज आएको मान्छे त्रिभुवन चोक पुगेकै हुन्छ,’ त्रिभुवन चोकका रामलखन गुप्ताले भने, ‘एक पटक रावडीको स्वाद लिएपछि जिब्रोले बिर्सिंदैन ।’

हलुवा–पराठा
नेपालगन्जको अर्को लोभ्याउने गुलियो परिकार हो, हलुवा । नेपालगन्ज आउनेहरू हलुवा–पराठाको स्वाद लिन नेपालगन्जको चौलिक्का चोक पुग्ने गर्छन् । हलुवा पराठाका कालिगढ हुन्, हारुन शेख । बम्बईबाट काम गर्न नेपालगन्ज आएका । जति ठूलो ताबा त्यति नै राम्रो रोटी हुन्छ । एउटा ताबामा डेढ किलो मैदाको रोटी पाक्छ । साथमा सुजीको हलुवा पकाइन्छ । बिस्तारै पकाउनुपर्छ । एक वर्ष उनले पकाउन मात्र सिके । यो अरबी परिकार भए पनि यहाँ यसको स्वाद लिनेको कमी छैन । बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म पसलमा भीड लाग्ने गर्छ । कामदार रमजान अलिका अनुसार पहाडीहरू नै यसको स्वाद लिन आउँछन् । २५ रुपैयाँमा एक सय ग्राम हलुवा–पराठा खान पाइन्छ ।
जलिल अहमद ३३ वर्षदेखि हलुवा–पराठा बेचिरहेका छन् । उनी दैनिक १५ किलो हलुवा र पराठा बिक्री गर्छन् । अहिलेसम्म उनले नमिठो भयो भन्ने सुन्नुपरेको छैन । माग बढ्दै गएपछि हाल नेपालगन्जको त्रिवेणी मोड, बागेश्वरी मन्दिरको चोकमा समेत बेच्न सुरु गरिएको छ ।

चाट
नेपालगन्ज आएका, चाट खान त्रिभुवन चोक नपुग्ने कमै होलान् । के बूढा, के बच्चा सबैको रोजाइमा चाट पर्छ । नेपालगन्जमा धेरैथरीका चाटको स्वाद लिन सकिन्छ । चाट पसले धर्मेन्द्र लखेरका अनुसार चाटमा मसलाको जादु नै प्रमुख कुरा हो । कसले कुन मसलाको प्रयोग कसरी गर्छ भन्नेमा यसको स्वाद निर्भर हुने उनले बताए ।
उमालेको आलुको बोक्रा ताछेर हातले चेप्टो पारी टिकिया बनाइन्छ । अदुवा, हरियो खुर्सानी, सुकेको खुर्सानीको धूलो, जिरा पाउडर, चाट मसला पाउडर, हरियो धनिया, अमचुर पाउडर र नुन हालेर आलुको चाट बनाइन्छ । उनी आफूले प्रयोग गर्ने मसला आफैं सिलौटामा पिसेर बनाउँछन् । ग्राहकको मागअनुसार चाट खट्टो र मिठो बनाइन्छ ।
चाट खाएपछि पानीपुरी अधिकांशको रोजाइमा पर्छ । खट्टो, पिरो मन पराउनेको पहिलो रोजाइमा पर्ने पानीपुरी गहुँका स–साना पुरी बनाएर त्यसमा खट्टो, पिरो पानी हालेर बनाइन्छ । एउटा व्यक्तिले कम्तीमा १० वटा पानीपुरी खाने गर्छन् । त्रिभुवन चोक आसपासमा पानीपुरीको ठूलो व्यापार हुने गरेको छ ।

घमन्जा
यहाँको मुख्य परिकारमध्ये घमन्जा पनि एक हो । जिब्रोले छुँदै यसको स्वाद मन पराउँछ । ब्रेडको टिकिया, भेंडे खुर्सानी, आलु, केराउको तरकारी, काउलीको टिकियालगायत परिकार एउटै ठाउँमा राखेर खान दिइन्छ । २० रुपैयाँमा पेटभरि खान पाइन्छ । बिहानैदेखि यसको व्यापार हुने भएकाले मजदुरी गर्ने मात्र होइन, धनाढ्यको रोजाइ पनि घमन्जा हुने गरेको छ ।

लस्सी
मुलुकमै गर्मी हुने दोस्रो सहरको उपाधि पाएको नेपालगन्जको लस्सीले धेरै नै राहत दिन्छ । खासगरी दहीबाट र उखुको जुसबाट पनि लस्सी बनाइन्छ । नेपालगन्जका विभिन्न स्थानमा
लस्सीको व्यापार भए पनि त्रिभुवन चोकको लस्सी विशेष मानिन्छ ।

पान
नेपालगन्जको पानको कथा पनि बेग्लै छ । यहाँ धेरै प्रकारका पानको स्वाद लिन पाइन्छ । १० रुपैयाँदेखि सय रुपैयाँसम्ममा खान पाइने भएकाले साँझ परेपछि पसलमा झुम्मिनेको छुट्टै रौनक हुन्छ । पानको विशेषता पनि आफ्नै छ । यसले पाचन शक्ति बढाउँछ । कब्जियत हुँदा पानको प्रयोग राम्रो मानिन्छ । पानका पारखी सकिल अहमद खान पान आफैंमा औषधिको रूप भएको मान्छन् । दिनमा चार पटक उनी पान खान्छन् ।

उपत्यका

बस चढ्दा ज्वरो नाप्नुपर्ने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौंमा सञ्चालित विद्युतीय बसमा ज्वरो नापेर मात्र यात्रा गर्नुपर्ने भएको छ । सुन्दर यातायात कम्पनीले बिहीबारदेखि ज्वरो नापेर मात्रै गाडीमा प्रवेश गराउने जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास फैलिएसँगै कम्पनीले संक्रमणबाट जोगिन यस्तो निर्णय लिएको हो । कम्पनीका अध्यक्ष भेषबहादुर थापाले तापक्रम तथा ज्वरो जाँच्न चार वटा इन्फ्रारेड थर्मोमिटर ल्याइएको बताए । ‘हाम्रा गाडी उत्पादक चिनियाँ कम्पनी बिएकेले थर्मोमिटर पठाएको छ,’ उनले भने, ‘उक्त कम्पनीले देशभरका बिजुली बस खरिदकर्तालाई पठाएको रहेछ ।’ कम्पनीले दुई वटा विद्युतीय बस चक्रपथ सडकखण्डमा सञ्चालन गरिरहेको छ । उनका अनुसार ज्वरो जाँच्नका लागि प्रत्येक बसमा चालक र सहचालक बाहेक दुई जना कर्मचारी खटाइनेछ ।
‘हामीसँग स्वास्थ्यसम्बन्धी पढेका दुई जना कर्मचारी छन्,’ उनले भने, ‘उनीहरूलाई एप्रोन, माक्ससहित सुरक्षित तरिकाले गाडीमा परिचालन गर्छौं ।’ ज्वरो नाप्दा एक सयभन्दा बढी तापक्रम पाइएमा यात्रुलाई मास्क उपलब्ध गराइने र अस्पताल जान सुझाव दिइने उनले बताए । ज्वरो आएको देखिएमा त्यस्ता यात्रुहरू गाडीमा चढ्न नपाइने उनको भनाइ छ । कम्पनीले जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग र सरुवा रोग नियन्त्रण महाशाखासँग छलफल गरेर नै यस्तो व्यवस्था लागू गर्ने भएको हो ।

उपत्यका

पौडेल पक्षद्वारा उपसभापति भेला बहिष्कार

- कान्तिपुर संवाददाता

(काठमाडौं) - कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्लाका उपसभापतिहरूले संस्थापन पक्षले बोलाएको बुधबारको भेला बहिष्कार गरेका छन् ।
पार्टीका केन्द्रीय उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टी प्रशिक्षणबारे छलफल गर्न काठमाडौंमा भेला डाकेको थियो । प्रतिष्ठानको संयोजकमा कांग्रेस उपसभापति र जिल्ला संयोजकमा जिल्ला उपसभापति रहने व्यवस्था छ ।
पार्टी सभापति शेरबहादुर देउवाले एकपक्षीय रूपमा पार्टीका विभाग गठन गर्नुका साथै केन्द्रीय सदस्य र आमन्त्रित सदस्य मनोनयन गरेपछि पौडेल पक्षले आफ्नो पक्षका उपसभापतिहरूलाई कार्यक्रममा नजान उर्दी जारी गरेको थियो ।
यसैबीच, कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बुधबार बसेको पौडेल पक्षको बैठकले महाधिवेशनलाई प्रभावित पार्ने रणनीतिअनुसार देउवा पक्षले बोलाउने कुनै पनि कार्यक्रममा सहभागी नजनाउने निर्णयसमेत गरेको छ । महाधिवेशनलाई प्रभावित प्रकारका कार्यक्रममा उपसभापतिहरूलाई सहभागी नहुन भेलामा आग्रह गरिएको पौडेल पक्षीय केन्द्रीय सदस्य हृदयराम थानीले बताए ।


कांग्रेसका सभा, भेला स्थगित
कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्न नदिन कांग्रेसले पार्टीका सबै कार्यक्रम स्थगन गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमार्फत पार्टी र पार्टीसँग आबद्ध संस्थाका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायत कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्म स्थगन गरिएको जानकारी गराएका छन् ।
कांग्रेसले पार्टीको १४ औं महाधिवेशन तयारीको काम भने जारी रहने जनाएको छ । कोभिड संक्रमणबारे ‘सहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतना अभियान अघि बढाउने निर्णयसमेत कांग्रेसको छ । ‘विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत उच्च जोखिम रहेको मुलुक भनेर सतर्क गराइसकेकाले हाम्रा सबै प्रयास जोखिम सामना गर्ने दिशामा सम्पूर्ण रूपले केन्द्रित गर्नुपर्ने भएको छ,’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले सरकारी लापरबाही र ढिलासुस्तीका कारण कोभिड–१९ को संक्रमण भित्रिन या फैलिन सक्ने खतरा रहेको जनाएको छ । ‘यसलाई गम्भीर रूपले लिएर सरकारलाई एकातर्फ हामी खबरदारी गरिरहेका छौं भने अर्कातर्फ यो जोखिम सामना गर्ने साझा राष्ट्रिय अभियानमा सरकारलाई कांग्रेसको सम्पूर्ण साथ रहनेछ,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘सरकार र सम्बन्धित निकायले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिको पालना र कार्यान्वयनमा सबैलाई साझा दायित्वबोधका साथ आत्मसात् गर्न हामी अपिल गर्छौं ।’
कांग्रेसले त्रिभुवन विमानस्थल तथा अन्य नाकामार्फत संक्रमण प्रवेश हुन नदिन स्वास्थ्य जाँच भरपर्दो बनाउन सरकारसँग आग्रह गरेको छ ।

Page 6
सम्पादकीय

संसद्मा गणपूरक संख्या : सांसदहरूको नैतिकताको प्रश्न

सांसदहरूको गणपूरक संख्या नपुगेर घरिघरि प्रतिनिधिसभा बैठक सञ्चालनमै कठिनाइ आउनु र त्यसबाट कानुन निर्माण प्रक्रिया प्रभावित हुनु समग्र सांसद गणलाई लाज लाग्नुपर्ने विषय हो । प्रतिनिधिसभामा २ सय ७५ सांसद छन्, गणपूरक संख्याका लागि एक चौथाइ अर्थात् ६९ जनामात्रै भए पुग्छ । तर, आवश्यक संख्या नपुगेकै कारण पछिल्लो एक सातामात्रै चारवटा बैठक स्थगित भए । यसको अर्थ हो, तीन चौथाइभन्दा बढी सांसदहरू ती दिनहरूमा आफ्नो संसदीय दायित्वप्रति जिम्मेवार बनेनन् । यसरी आवश्यक सांसद संख्या नपुगेर संसद्को कामकारबाही प्रभावित हुने प्रवृत्ति जस्तै बनिसकेको छ । संसद् र संसदीय कामकारबाहीप्रति सांसदहरू उत्तरदायी छैनन् भन्न सायद यसभन्दा अर्को आधार खोजिरहनु पर्दैन ।
राजनीतिक दलका शीर्षस्थ नेताहरूको प्राथमिकतामा संसद् बैठक कहिल्यै परेको छैन । खास परिस्थिति वा आफ्नो ‘निजी सरोकार’ पनि जोडिएका विषयमाथि छलफल हुने दिनमा बाहेक उनीहरू विरलै मात्र संसद्मा उपस्थित हुने गर्छन् । विडम्बना, अरू सांसदले पनि यस्तै सिको गर्न थालेका छन् । फरक, यी सांसदहरू संसद्मा पुगेर हाजिर गर्छन्, भत्ता सुनिश्चित गर्छन् तर बैठक कक्षबाट भने गायब हुन्छन् । शून्य र विशेष समयमा आफ्ना कुरा राख्न बैठकमा बस्नेहरू पनि संसद् नियमित कार्यसूचीमा प्रवेश गरेसँगै बेपत्ता हुन्छन् । यसरी हाजिर गरेर भत्ता बुझ्ने तर नियमित कार्यसूचीका काममा नबस्ने प्रवृत्तिले त्यसरी गयल हुने प्रतिनिधिसभा सदस्यहरूको नैतिकतामाथि नै ठूलो प्रश्न उब्जाएको छ । कतिसम्म भने, गत फागुन १३ गते १ सय ८१ सांसदले हाजिर गरेकामा गणपूरक संख्या यकिन गर्न घण्टी बजाउँदा ५८ जनामात्र उपस्थित भए । हाजिर गरेर बैठक छाडे पनि १ सय २३ जना ती सांसदले २ लाख ४६ हजार रुपैयाँ भत्ता भने बुझ्नेछन् । यहाँ सवाल रकम दुरुपयोगको मात्र होइन, सांसद पदको मर्यादा र समग्र संसद्कै गरिमाको हो ।
सांसदहरू मुलुक सञ्चालन गर्ने कानुन बनाउने, राष्ट्रिय प्राथमिकताका मुद्दा सदनमा उठाउने, सरकारी कामकारबाहीको अनुगमन गर्नेजस्ता महत्त्वपूर्ण जिम्मेवारीसहित जनताबाट चुनिएका हुन् । विधेयकमाथि छलफल गर्नु र पारित गराउनु उनीहरूको दायित्व हो । तर, चालु संसद् अधिवेशन सञ्चालन भएको अढाई महिना बिते पनि संसद्ले अधिकांश विधेयकलाई अन्तिम रूप दिन सकेको छैन । संसद्मा नियमित कार्यसूचीअन्तर्गत कुनै विषय निर्णयार्थ प्रस्तुत गरिँदा गणपूरक संख्या नपुगेर उक्त दिनको बाँकी कार्यक्रम कार्यसूचीबाट हटाइनुपर्ने अवस्था आउनु आफैंमा टीठलाग्दो छ । संसद्का नियमित कामकारबाहीप्रति सांसदहरूको निरन्तर देखिएको यस्तो अरुचिले नीति–निर्मातामै काम छल्ने संस्कृति हावी भएको देखाउँछ । यो हाम्रा सांसदहरू संसद्, संसदीय व्यवस्था र आफूले प्रतिनिधित्व गर्ने नागरिकप्रति जवाफदेही नभएको द्योतक हो ।
आफ्नो मूल जिम्मेवारीलाई नै बेवास्ता गर्दै सांसदहरू के कामका लागि संसद्मा अनुपस्थित हुन्छन् भन्ने कुरा पनि अनुसन्धान र विमर्शको विषय हो । कति सांसद ‘जनताको कामका लागि’ मन्त्रालय धाउनु परेको बनिबनाउ जवाफ दिन्छन् । तर, मन्त्रालय नधाई आफ्नो क्षेत्रमा योजना नपर्ने प्रचलन तोड्न पनि उनीहरूले संसद्मै भूमिका खेल्नुपर्छ । मुलुक विकासको व्यवस्थित प्रणाली बसाल्न सांसदहरूले संसद्बाटै सरकारलाई बाध्य बनाउन सक्नुपर्छ । त्यसो त, सांसदहरू संसद् बैठक छाडेर आफ्नो निजी काम तथा कुनै गैरसरकारी संस्थाको कार्यक्रममा उपस्थित हुने गरेको आरोप पनि उत्तिकै लाग्ने गरेको छ ।
सांसदहरूले मनन गर्नुपर्छ– संसद् बैठकमा गयल हुनु भनेको आ–आफ्नो उत्तरदायित्वबाट च्युत हुनु हो, राष्ट्रिय प्राथमिकताका मुद्दाहरूमा आफूलाई उदासीन राख्नु हो र प्रकारान्तरले विधायकको भूमिकामा आफू अयोग्य भएको प्रमाणित गर्नु हो । संसद् बैठक चलेका समयमा तीन चौथाइभन्दा बढी सांसद अन्यत्रै हुन्छन् भने मुलुकका खास मुद्दा तथा कानुन निर्माणमा उनीहरूको प्राथमिकता नभएको बुझ्न मुस्किल छैन । संसद्लाई ‘बिजनेस’ दिने र उसको काम निर्बाध सञ्चालन गर्ने प्रमुख दायित्व सरकारको हो । संसद्ले आवश्यक कानुन बनाएमात्रै सरकारले आफ्नो कामको रफ्तार बढाउने वातावरण पाउँछ । त्यसैले मुख्यगरी सत्तारूढ दलले नै यसप्रति गम्भीर बनी आफ्ना सांसदहरूलाई संसद्मा उपस्थित गराउन भूमिका खेल्नुपर्छ । साथै, संसद्को गरिमा कायम गर्ने दायित्व प्रतिपक्ष दलको पनि उत्तिकै हो, उसले पनि यसमा ध्यान पुर्‍याउनुपर्छ । सांसदहरूलाई निर्वाचन क्षेत्र जाने समय मिलाउन कठिन भएको हो भने वर्षे र हिउँदे अधिवेशन सुरु र सञ्चालन हुने पात्रो व्यवस्थित, वैज्ञानिक र पूर्वानुमानयोग्य बनाइनुपर्छ । सबैजसो सांसदलाई संसद् छल्ने कुनै पनि बहाना उपलब्ध गराइनु हुँदैन । निरन्तरजसो बैठक अवरुद्ध भएकाले संसद् चलुन्जेल सांसदहरूलाई कतै जान नपाउने नीति नै बनाउनुपर्ने आवाजसमेत उठ्न थालेको छ, यसतर्फ पनि संसद्ले विचार पुर्‍याउनुपर्छ ।

सम्पादकलाई चिठी

जातीय विभेदको जरा

सार्वजनिक स्थानमा जोकसैले जोकसैलाई पनि जातको आधारमा भेदभाव गर्न पाइँदैन भन्ने कानुनले भन्छ । कानुनले बन्देज गराए पनि समाजमा जातीय छुवाछूत हटेको छैन । यसैको उदाहरण ‘दलित भन्दै डेरा छाड्न दबाब’ समाचार हो । २१ औं शताब्दीको समाजमा जातीय छुवाछूतको समाचारले निकै दुःखी बनाएको छ ।
जातीय छुवाछूत सभ्य सामाजमा सुहाउने कुरा होइन । संविधानले छुवाछूत तथा भेदभावविरुद्ध स्पष्ट व्यवस्था गरेको छ । तर यसको कार्यान्वयन हुनसकेको छैन । जातीय छुवाछूत विगतदेखिकै कुप्रथा हो । मान्छे सबै समान हुन् । जातीय भेदभाव गर्नु सामाजिक अपराध हो । सदियौंदेखि विद्यमान छुवाछूत रातारात हटन सक्दैन । तर हामी सबैले प्रयास गर्नुपर्छ ।
छुवाछूत र भेदभाव नहटेसम्म कसरी समाजको उन्नति र समृद्धि सम्भव छ ? शिक्षाबाट बञ्चित दलित समुदाय बढी जातीय विभेदबाट प्रताडित भएका छन् । सहरको तुलनामा ग्रामीण भेगका दलित समुदायले छुवाछूत सहेर बस्नुपर्ने बाध्यता छ । विभेदका कारण आफ्नो वास्ताविक थर लुकाएर कोठाभाडामा बस्न बाध्य भएका छन् । कतिपय विद्यालयमा दलित बालबालिकाले आफ्नो वास्ताविक थर ढाँटेर नाम लेखाउने गरेका छन् । अहिले स्थानीय निकायको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले जातीय प्रमाणपत्र दिने व्यवस्था छ । तर थर नै लुकाउने गर्दा उनीहरूले निकै कम संख्यामा प्रमाणपत्र लिइराखेका छन् । थर लुकाउँदा राज्यबाट पाउने सुविधा नपाइरहेको अवस्था छ ।
– जानुका विक, चौदन्डीगढी–९, उदयपुर

सम्पादकलाई चिठी

कोरोनालाई ख्यालठट्टा नसम्झौं

- कान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमयुक्त क्षेत्र मानेको छ । अहिलेसम्म तीनहजारभन्दा बढीको ज्यान गइसकेको, चीन बाहिर विश्वभरि नै कोरोना फैलिरहेको छ । सर्वोच्च अदालतले कोरोनाको संक्रमितमुलुकबाट आउने–जाने सबै अन्तर्राष्ट्रिय उडान रोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
आजभोलि राजधानीमा मानिसको जमघटमा कमी आएको छ । शिक्षण संस्थामा बढ्न सक्ने खतरामाथि पनि सबैको ध्यान पुग्न जरुरी छ ।
७ वर्षमुनिका शिशुमा भाइरस संक्रमणको जोखिम अत्यधिक हुनसक्छ । ३–४ हप्ता मुलुकभर शिक्षण संस्था बन्द गर्न सकिन्छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

कोरोनासम्बन्धी तथ्यांक अनुसार इरान, चीन, इटाली र कोरियामा कोरोना संक्रमितमध्ये क्रमशः ०.२२, ०.२७, ०.३९, ०.४४ र १.७१ प्रतिशतले मृत्यु भएको तथ्य छ । यसले कोरियमा मृत्युदर उच्च रहेको देखाउँछ । कोरियाले त्यहाँ कार्यरत नेपालीहरू लगायत सबै विदेशीलाई बाहिर हिंँडडुल गर्न प्रतिबन्ध गरेको छ । कोरियामा नेपालीको स्थिति निकै जटिल छ । त्यसैले नेपाल सरकारले कोरियाली कामदारको सुरक्षा सम्बन्धमा आवश्यक र तत्काल कदम चाल्न जरुरी रहेको छ ।
– महेन्द्रसिंह बम, टीकापुर– १, कैलाली

कोरोना भाइरस तीव्रगतिमा संक्रमण फैलिरहेको छ । विभिन्न राष्ट्रहरू आ–आफ्नो स्रोत र साधनले भ्याएसम्म संक्रमण रोक्न तल्लिन छन् । हाम्रो सरकार भने भर्खरै बिउँझिएको छ । निर्णयमै भएपनि सरकार रोग नियन्त्रणमा लागिपरेको जस्तो देखिन्छ । कोरोना भाइरस अत्यन्तै संवेदनशील हुने स्वास्थ्यकर्मी बताउँछन् । हालसम्म कुनै खोप नभएका कारण बिरामीलाई सुविधा सम्पन्न बेडमा राखेर उपचार गर्नुपर्ने हुन्छ । नियमित गुणस्तरीय मास्कको प्रयोगले संक्रमण फैलन दिँदैन । तर विडम्बना, यहाँ संक्रमण छेक्ने मास्कमात्र होइन, सामान्य धुलो रोक्ने मास्कसमेत पाउन छाडिसकेको छ । यसतर्फ सरकार संवेदनशील हुनसकेको छैन । मास्क नै नपाइरहेको अवस्थामा संक्रमितलाई छुट्टै अस्पतालमा कसरी राख्ने ? चीनमा कोरोना फैलिएसँगै नेपालमा पनि यसैको जोखिम छ भनेर त्यतिनै बेला मास्कको जोहो गर्नुपर्थ्यो । संक्रमित राख्ने छुट्टै अस्पतालको व्यवस्थाको लागि ध्यान दिनुपर्थ्यो । मास्कको उत्पादनमा वृद्धि गर्न जरुरी छ अनि कम्तीमा
पनि ५०० शैयाको अत्याधुनिक बेडको व्यवस्था गर्न ढिला भइसक्यो ।
– रामकृष्ण बराल, जोरपाटी, काठमाडौं

कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यान दिएर अन्तर्राष्ट्रिय उडान रोक्न अदालतले दिएको आदेश उचित लागेन । आदेश दिएर हुँदैन । जनताको सुरक्षाको लागि वैकल्पिक व्यवस्था गर्नुपर्छ । त्यसका लागि जनताको सुरक्षाको भरपर्दो व्यवस्था गर्ने आदेश अदालतले दिने हो । अन्तर्राष्ट्रिय उडान नै रोकेपछि जनस्तरबाट हुने आवत–जावतमा यसको सोझो असर पर्छ । कति नेपाली श्रमिकहरू विदेशमा पुगेर काम गरिरहेका छन् । उनीहरूलाई फर्किन यसले समस्या पार्छ । यो अदालतबाट आएको अपरिपक्व निर्णय हो ।
यसमा पुनर्विचार गरियोस् ।
– रमेश भट्टराई, बारा

सम्पादकलाई चिठी

प्रहरीको घट्दो मनोबल

- कान्तिपुर संवाददाता

केही वर्षदेखि नेपाल प्रहरीको मनोबल गिराउने काम हुँदै आएको छ । प्रहरीको महाराजगन्जको तालिम केन्द्र कब्जा, प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षकको दर्जा कटौती र अहिले प्रहरी नायव महानिरीक्षकहरूको दर्जा कटौती गर्ने विषय सम्वेदनशील हुन् । राष्ट्रिय प्रहरी प्रतिष्ठानलाई हटाउँदा प्रहरीको संगठनलाई आगामी दिनमा के–के कुरामा असर पुग्न सक्छ भनेर सूक्ष्म विश्लेषण गरिनुपर्थ्यो । यसतर्फ ध्यान पुर्‍याएन जरुरी छ । देश संघीयतामा गइसकेको अवस्थामा प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षकको पद बहाली गरिनुपर्छ ।
– तीर्थ गुरुङ, काठमाडौं

सम्पादकलाई चिठी

टिपर चालकको लापरबाही

- कान्तिपुर संवाददाता

टिपर चालकलाई तालिमको व्यवस्था गरिनुपर्छ । टिपरको दुर्घटनाबाट धेरै नै क्षति भइरहेको अहिलेको परिस्थतिमा चालकलाई मात्र दोष दिएर सरोकारवाला निकाय उम्कन मिल्दैन । चालकलाई आवश्यक तालिम, सेवा–सुविधा दिएर काममा लगाउन सक्नु पर्छ । टिपर चालकहरू भत्ताको लोभमा जथाभावि तीव्र गतिमा टिपर कुदाउँछन् । टिपर देख्दा भारी लागे पनि चलाउन सहज हुन्छ । टिपर चालकको सिटबाट टायर वरिपरि कम देखिने हुँदा पनि दुर्घटना बढेको छ । यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।
– टीका केसी, काठमाडौं

सम्पादकलाई चिठी

सबै नेताले प्रधानमन्त्रीको सिको गरून्

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण मुलुकमै भएको समाचारले खुसी तुल्यायो । अब उप्रान्त देशका अरू ठूला नेताहरूले मुलुकमा उपचार गर्नुपर्छ । सरकारी अस्पतालमा यसरी उपचार गर्दा चिकित्सा क्षेत्रको मनोबल बढ्छ । आम नागरिकजस्तै नेता पनि सरकारी अस्पतालमा उपचार गर्दा अस्पतालमा सुधार हुनसक्छ । त्यहाँको गुनासो र सरोकारका विषयमा पनि उपचार गर्ने क्रममा नेताहरूले जानकारी लिँदा राम्रो हुन्थ्यो । यसरी नै भोलि राष्ट्रपति वीर अस्पतालमा उपचार गर्ने, उपराष्ट्रपति पाटन अस्पताल जाने हो भने अस्पतालको स्तरोन्नति त्यसै हुन्छ ।
कुनै समय शिक्षण अस्पतालको नाम दक्षिण एसियामै चलेको थियो । जापान सरकारले दिएको भौतिक पूर्वाधारले अझैसम्म भरथेग गरेको छ । पछिल्लो समय सरुवा, बढुवा तथा अनेक सामान खरिद–बिक्री गर्दाको राजनीतिले यसको अवस्था बिगार्‍यो ।
मुलुक संघीयतामा छ, स्थानीय तहका प्रमुख/उपप्रमुखले पनि स्थानीय तहभित्रका अस्पतालमा उपचार गनुपर्छ । ग्रामीण भेगका कतिपय ठाउँमा अस्पताल छन्, डाक्टर पनि होलान्, तर परीक्षण गर्ने भौतिक सामग्री अभाव छ । कति ठाउँमा त स्वास्थ्यचौकी पनि मुस्किलले चलेको छ ।
यस्तो अभियान सबै तहहरूमा गर्न पाए कमसेकम सरकारी अस्पतालको सेवाबाट नागरिक पनि लाभान्वित हुने थिए । जनतालाई न्यूनतम स्वास्थ्यसेवा निःशुल्क रूपमा सरकारी अस्पतालले प्रदान गरे त झन् राम्रो । निःशुल्क गर्न नसकेपनि कम खर्चमा देशभरिका सरकारी अस्पतालले उपचार गर्दिएमात्र पनि आम मानिसलाईनिकै फाइदा हुन्थ्यो ।
– श्रीकृष्ण राजवंशी, सुनकोसी–३, सिन्धुली

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा छन् । ओलीले सरकारी अस्पतालको विश्वास गर्नुले जनमानसमा सकारात्मक सन्देश गएको छ । नेता तथा मन्त्रीहरूको उपचारमा मुलुकले करोडौं रुपैयाँ खर्च गरिरहेको छ । सर्वसाधारण जनतालाई भने सिटामोल खान पनि गाह्रो परिस्थिति छ । अब सबै ग्रामीण क्षेत्रका मानिसले सजिलोसँग उपचार पाउन सरकार र स्वास्थ्यमन्त्री लाग्नुपर्छ ।
– गोविन्द विक, कपन, काठमाडौं

सुविधा सम्पन्न अस्पताल बनाएर आम जनतालाई सस्तोमा सेवा दिनु आजको सरकारको नीति हुनुपर्छ । यो कुरा ओलीले महसुस गरेको जस्तो लाग्छ, तर सरकारको नीति नै यसतर्फ बढ्नुपर्छ । जनतालाई उपचारको महसुल तिर्न निकै गाह्रो छ ।
मिर्गौला पीडित बिरामीको मर्म झन् ओलीले बुझेको हुनुपर्छ । मिर्गौलाको उपचार निकै महँगो छ । यसलाई सुधार गर्न के कस्तो निर्णय गरिनुपर्ने हो, त्यसमा सरकारको ध्यान जाओस् । प्रधानमन्त्री आफै मिर्गौला पीडित भएको नाताले पनि सम्पूर्ण मिर्गौला पीडितको भावना र पीडा बुझिदिनुहोस् ।
– समिता केसी, काठमाडौं

दृष्टिकोण

संकटग्रस्त उच्च शिक्षा

विश्वमान्यता विपरीत विश्वविद्यालयको स्थापना र सञ्चालन गर्दा देशबाहिर नेपालको प्रमाणपत्र अमान्य पनि हुन सक्छ ।

विश्वविद्यालय समस्याग्रस्त भएका समाचार पत्रपत्रिकामा बारम्बार आइरहेका छन् । यस्ता समाचार विश्वविद्यालयका आन्तरिक समस्याप्रति लक्षित नभए पनि उच्च शैक्षिक संस्थाको अवस्था सामान्य छैन । प्रत्येक निर्णय पद्धतिमा लक्षित वर्ग (विद्यार्थी) को हितमा नभई अप्राज्ञिक पक्षतिर ध्यान दिने गरिएकाले समस्या समाधानमा ढिलाइ भइरहेको छ । फलस्वरूप शैक्षिक स्तर झन्झन् खस्किइरहेको छ । कतिपय विद्यार्थी उच्च शैक्षिक डिग्री लुकाउनुपर्ने अवस्थामा पुगिसकेका छन् ।
लक्ष्य हराएको संस्थाजसरी सञ्चालित छन्, हाम्रा उच्च शिक्षाका केन्द्रहरू । उच्च शैक्षिक संस्थाको आदर्श र वास्तविकताबीच खाडल फराकिलो बन्दै गइरहेको छ । त्रिभुवन विश्वविद्यालय संयुक्त राज्य अमेरिकाको सन् १८६०–९० तिरको प्रोटोटाइप विश्वविद्यालयको हाराहारीमा छ भन्न पनि गाह्रो भइसकेको छ । नेपालमा उच्च शिक्षा सञ्चालन भएको एक शताब्दी नाघिसक्दा पनि हामीले यसको महत्त्व बुझ्न सकेका छैनौं । अन्य मुलुकमा विश्वविद्यालयलाई आर्थिक ‘इन्कुबेटर’ का रूपमा व्यवहार गरिन्छ । संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, जापान, रसियाजस्ता विकसित मुलुकको विकासको आधार नै स्तरीय उच्च शिक्षा हो । टर्की, क्रोएसिया र बेल्जियमले पनि उच्च शिक्षालाई आर्थिक विकासको कडीमा रूपान्तरण गर्न यथेष्ट लगानी गरेका छन् । छिमेकी भारतकै विकासको आधार विकसित मुलुकका उच्चस्तरीय प्राविधिक उच्च शैक्षिक संस्थासमान आईआईटी (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी) स्थापना र सञ्चालन गर्नु हो । उपर्युक्त देशहरूले उच्च शैक्षिक संस्थालाई राष्ट्रिय पहिचानको एक अंशका रूपमा लिएका छन् । उच्च शिक्षा सफलताको मापन शैक्षिक स्तर र क्षेत्रीय अर्थतन्त्रको सम्बन्धबारे अध्ययन र विश्लेषण गरी गरिन्छ । अर्थशास्त्री होवार्ड जे. वोनका अनुसार, सिक्नका लागि गरिएको लगानीबाट व्यक्ति मात्र नभई पूरै मानव समाज लाभान्वित हुन्छ ।
हामीले उच्च शैक्षिक संस्थालाई केवल प्रमाणपत्र दिने संस्थाका रूपमा लियौं । पञ्चायती शासनले संकायलाई शिक्षक र कर्मचारी भर्ना गरी सभा/दिवसको जुलुसमा सामेल गराउने एउटा अंगका रूपमा लियोÙ संयुक्त राज्य अमेरिकाको भूमि अनुदान कलेजजस्तै विकेन्द्रीकृत शैक्षिक प्रशासनद्वारा सञ्चालित सामुदायिक कलेजलाई विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा परिवर्तन गर्‍यो । अनि विश्वविद्यालयको केन्द्रीय शासन शैक्षिक स्तर उकास्नभन्दा शिक्षक, कर्मचारी र विद्यार्थीलाई नियन्त्रण गर्नतर्फ एकोहोरियो । शिक्षक–कर्मचारीहरू कलेजका नभई विश्वविद्यालयका हुन गएकाले कलेजप्रतिको पुरानो सम्बन्ध हटेर गयो । विश्वविद्यालय, कलेज र केन्द्रीय विभागको शैक्षिक गरिमा र अधिकार केन्द्रीय नेतृत्वको तजबिजमा सीमित भएकाले शैक्षिक नेतृत्व र अधिकारबिनाका केन्द्रीय विभाग क्याम्पसमा गठन गरिएका विभागसरह भए । विदेशका उच्चस्तरीय संस्थासित राम्रो सम्बन्ध भएका केन्द्रीय विभागीय प्रमुखले उतैको सहयोगमा फ्याकल्टी डेभलपमेन्ट प्रोग्राम सञ्चालन गर्न सके त सके, नत्र त्यो सम्भव नहुने परम्परा बस्दै गयो । आर्थिक भार ब्यहोर्नुपर्ने शैक्षिक कार्यक्रम स्वीकृत गराउन प्रशासनका धेरै तह पार गर्नुपने भयो ।
यथास्थितिमा रहेको शैक्षिक प्रशासन संयन्त्र अझ बोझिलो हुँदै गइरहेको छ । सुनिन्छ, उच्च शिक्षा विधेयकको मस्यौदामा वर्तमान कुलपति पद्धतिमा विश्वविद्यालय सञ्चालन गर्ने व्यवस्थाको साटो प्रधानमन्त्रीको अध्यक्षतामा उच्च शिक्षा परिषद्को गठन र त्यस मातहत कार्यकारी समिति राख्ने व्यवस्था प्रस्ताव गरिएको छ । यो हेर्दा नयाँ परिवर्तनका माध्यमले उच्च शिक्षा परिषदले विश्वविद्यालयहरूमा स्तरीय अध्ययन–अध्यापनको उत्तरदायित्व लिन खोजे जस्तो देखिन्छ । तर, अधिकार मात्रका संरचना थप गर्नाले विश्वविद्यालयहरूमा अप्राज्ञिक विकृति मौलाउन सक्छ । वर्तमान प्रशासनमुखी शैक्षिक प्रशासनको जालो अझ मजबुत हुन्छ । दक्षिण एसियाली मुलुकहरूका कुनै पनि स्तरीय विश्वविद्यालयमा हाम्रा विश्वविद्यालयहरूको जस्तो संरचना र सञ्चालन पद्धति छैन । विश्वमान्यताले पातलो तथा प्रभावकारी संगठनात्मक संरचनाको परिकल्पना गर्छ । विश्वमान्यता विपरीत विश्वविद्यालयको स्थापना र सञ्चालन गर्दा ग्रेट ब्रेनरेसको पृष्ठभूमिमा विश्वविद्यालयको आकार फेरबदल गरिरहेका मुलुकहरूबाट नेपालको प्रमाणपत्र परोक्ष रूपमा अमान्य पनि हुन सक्छ ।
विश्वविद्यालयले विद्यार्थीहरूलाई प्राज्ञिक नागरिक बनाउन अनुकूल वातावरण सिर्जना गर्नुपर्छ । अनुकूल वातावरणको अभावमा विद्यार्थीहरूको मनोवृत्ति, मूल्यमान्यता र आचरणमा प्रतिकूल प्रभाव पर्छ । विद्यार्थी भर्नामा सहजता देखिए पनि विश्वविद्यालयहरूले उनीहरूलाई शालीन वयस्क नागरिकको जिम्मेवारीबोध गराउन सकेका छैनन् । विश्वविद्यालयको बेथितिको प्रत्यक्ष प्रभाव विद्यार्थी वर्गमा परेको छ । विश्वविद्यालय अनुदान आयोगका अनुसार, नेपालमा रहेका १,४२५ क्याम्पसमा ४,२३,९९६ विद्यार्थी छन् । त्रिभुवन विश्वविद्यालयका मात्र ६० आंगिक र १,०८० सम्बन्धनप्राप्त क्याम्पसमा ३,३५,१२६ भर्नारत विद्यार्थी छन् । विद्यमान स्थितिमा तीनवर्षे स्नातक पाठ्यक्रम पूरा गर्न तीन वर्ष छ महिना अथवा चार वर्षसम्म पनि लाग्न सक्छ । यस्तो ढिलाइबाट विद्यार्थी र अभिभावकहरू मर्माहत छन् । धेरै संख्यामा विद्यार्थी भर्ना गरी अध्यापन गराउने विश्वविद्यालयहरू संयुक्त राज्य अमेरिकामा पनि छन् । उदाहरणार्थ, स्टेट युनिभर्सिटी अफ न्युयोर्कका विभिन्न राज्यमा फैलिएका ६४ आंगिक कलेजमा ४ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सिटी युनिभर्सिटी अफ न्युयोर्कका १९ आंगिक कलेजमा २ लाखजति विद्यार्थी छन् । एडुकेसन पोलिसी रिसर्चका प्राध्यापक जोन आर. थेलिनको भनाइमा, ‘सबैका लागि उच्च शिक्षा’ नीति अपनाउनाले कलेज तथा विश्वविद्यालयमा योग्य फ्याकल्टी उत्पादन हुँदैन र उच्च शिक्षा समस्याग्रस्त हुन सक्छ । रोजगारको सीमित अवसर र उच्च शिक्षामा सहज पहुँचका कारण मध्यम आय भएका अभिभावक पनि आफ्ना सन्तानलाई विश्वविद्यालयको उच्च तहसम्मको औपचारिक शिक्षा अध्ययन गराउन बाध्य भएका छन् । अध्ययनका साथसाथै रोजगारीको अवसर पाइने आशाले नै त्यस्ता अभिभावकका सन्तान विदेसिने प्रवृत्ति बढेको हुनुपर्छ । शिक्षा मन्त्रालयका अनुसार, २०७६ साउनसम्म विदेशिने, भारतमा बाहेक, विद्यार्थीको संख्या ३,६२,००० पुगेको छ ।
उच्च शिक्षा संस्थालाई सामाजिक बौद्धिक तयार केन्द्र (सेन्टर फर सोसियो–इन्टेलेक्चुअल प्रिपरेसन्स) का रूपमा हेरिन्छ । अब्राहम फ्लेक्सनरका अनुसार, उच्च शैक्षिक डिग्रीप्राप्त विद्यार्थीमा ज्ञान, संस्कारयुक्त संस्कृति, प्रखर अभिव्यक्ति कला, असल चरित्र, आफूमा भएका दुर्लभ गुणहरूको सन्तुलित तथा परिपक्व प्रयोग गर्दै आइपर्ने जिम्मेवारी गरिमापूर्ण ढंगले सक्षमताका साथ वहन गर्न सक्ने योग्यता हुनुपर्छ । तर, हाम्रा उच्च शैक्षिक संस्थाले विद्यार्थीलाई गहन अध्ययनका लागि उत्प्रेरित गर्न सकेका छैनन् । उच्च स्तरको पाठ्यक्रम र विविध अध्यापन विधि प्रयोगमा ल्याउँदा कक्षाकोठा चाखलाग्दो हुन सक्थ्यो । शिक्षकको अध्यापन र विद्यार्थीहरूको अध्ययन परीक्षाकेन्द्रित मात्रै भयो । उपलब्ध पुस्तक पनि परीक्षाकेन्द्रित हिसाबले मात्रै प्रकाशित भएका छन् । केन्द्रीय परीक्षा कार्यालयको सरोकारमा रहेका शिक्षकको माग निजी क्याम्पसमा पनि बढ्न थाल्यो । विद्यार्थीले आर्जन गरेका ज्ञान र उसका लागि खर्चिइएको धनराशिको विश्लेषण गर्ने एक मात्र आधार परीक्षा उत्तीर्ण प्रतिशत भइदिनाले उच्च शिक्षामा आन्तरिक विकृति मौलाउने अनुकूल वातावरण सिर्जना भयो । तीन वा चार वर्षमा पूरा हुनुपर्ने स्नातक तहको अध्ययन परीक्षाफल प्रकाशित हुन ६ महिनादेखि १ वर्षसम्म लाग्नाले अझ ढिलो सकिने र प्रमाणपत्रधारी विद्यार्थीको सापेक्ष आर्थिक मूल्य (रिलेटिभ इकोनोमिक भ्यालु) मा केही परिवर्तन नदेखाउने शिक्षालाई स्तरहीन भनिन्छ ।
विद्यार्थी युनियन गठन गर्दैमा अध्ययन–अध्यापनमा ह्रास आउने हुँदैन । युनियनका सिर्जनात्मक क्रियाकलापले विद्यार्थीमा भएका प्रतिभा उजागर नै गर्छन् । युनियनले प्रकाशित गरेका लेख, रचना र सम्झनाको सँगालोबाट विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै कक्षाकोठाको अध्यापनमा विविध परिमार्जन गर्न मद्दत पुग्ने हुन्छ । विद्यार्थीहरू सिर्जनशील हुन्छन् र उनीहरूको सोचाइमा विविधता हुन्छ । अनुकूल वातावरणले मात्र विद्यार्थीको प्रतिभा उजागर हुन्छ । शिक्षित बेरोजगारले चुलिएको रोजगार बजार र राजनीतिक भागबन्डाद्वारा अतिक्रमित रोजगारको अवसरले विद्यार्थीहरूलाई विभिन्न राजनीतिक
कित्तामा उभिन बाध्य बनायो । विषम परिस्थितिमा विकसित उच्च शैक्षिक संस्था बौद्धिक तयारी केन्द्रमा रूपान्तरित हुन सकेनन् ।
विद्यार्थी भर्नाका आधारमा तेस्रो स्थान ओगटेका मानविकी तथा समाजशास्त्रका पाठ्यक्रम भविष्यका पेसातिर लक्षित गरी व्यावहारिक ज्ञानवर्द्धक विषयका रूपमा पुनर्जीवित भएका उदाहरण धेरै छन् । सम्बन्धित प्राध्यापकबाट मात्र यो सम्भव हुन सक्छ । प्राध्यापकलाई विषय विशेषज्ञ मानिन्छ । यो विश्वमान्यता हो । विशेषज्ञका रूपमा प्राध्यापक सम्बन्धित विषयगत राष्ट्रिय स्तरको जर्नल र संघ–संगठनमा सदस्य भई कार्यरत पनि हुन्छन् । विकसित राष्ट्रमा अनुसन्धान सञ्चालन नगरेका अध्यापकलाई प्राध्यापक नै मानिँदैनन् । अध्ययन–अध्यापन अनुसन्धानमुखी हुनुपर्छ । अनुसन्धानबिनाको पाठ्यक्रम परिमार्जनले लक्षित उद्देश्य पूरा गर्न सक्दैन । बजेट अभावमा हाम्रा विश्वविद्यालयको प्राध्यापन विधि दैनिक मन्त्रोच्चारण (डेली रिसाइटेसन) मा आधारित छ । छलफल विधि शून्यप्रायः छ । विषयगत सेमिनार, गोष्ठी छँदै छैन । पुस्तकालय बजेट ज्यादै न्यून र प्रयोगशाला अद्यावधिक पार्ने नीति प्राथमिकतामै पर्दैन । कक्षाकोठाबाहिर अनौपचारिक अध्ययन–अध्यापनका लागि पुस्तक र अन्य सामग्री प्रचुर मात्रामा भएको पुस्तकालय र संग्रहालयका साथै अध्ययन (अब्जर्भेसन), फिल्डवर्क र अनुसन्धान अभियान (रिसर्च एक्सपिडिसन) जस्ता प्राध्यापन विधि सम्बन्धी बजेट कामचलाउ छ । उच्च तहका विद्यार्थीको सानो समूहले सम्बद्ध प्राध्यापक समक्ष मौलिक अनुसन्धानको विषयवस्तु र शीर्षकबारे गहन छलफल सम्बन्धी अध्ययनविधि गर्भावस्थामै छ । शिक्षण सहायक, सहायक प्राध्यापक, उपप्राध्यापक, सहप्राध्यापक तथा प्राध्यापकको अध्यापनविधि बजेटको अभावमा एकै हुन गएको अवस्थामा परीक्षाकेन्द्रित अध्यापन र पुस्तक प्रकाशित हुनु स्वाभाविक भइरहेको छ । अब्बल विद्यार्थीहरूका लागि पनि परीक्षाकेन्द्रित पाठ सम्झने कसरत गर्नुबाहेक अन्य विकल्प रहेन । उच्च अंकप्राप्तिका लागि विद्यार्थीद्वारा भए–गरेका दुर्व्यवहार यसैका नतिजा हुन् । लिखित अभिव्यक्तिद्वारा नै शैक्षिक स्तर सम्बन्धी छिनोफानो (निर्णय) केन्द्रीय परीक्षा प्रणालीमार्फत हुने भए र अध्ययन–अध्यापन यथास्थितिले निरन्तरता पाउने भए कोचिङ सेन्टर र परीक्षा केन्द्रीय कार्यालय भए पुग्नेछ । वर्तमान उच्च शिक्षाको अध्ययन–अध्यापन स्कुल शिक्षाको विस्तारित रूपमा मात्र देखिएको छ ।

पराशर कोइराला
कोइराला विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष हुन् ।

Page 7
दृष्टिकोण

ओलीको दह्रो आत्मनिर्णय

- किशोर नेपाल

 

नेपालको समाचार–संसार र सामाजिक सञ्जालको दृष्टि केही समययता सरकारमा, खास गरी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीमा केन्द्रित छ । यो अनौठो कुरा होइन । प्रधानमन्त्री ओलीको शरीरमा नयाँ र जवान मिर्गौला प्रत्यारोपण गर्नु छ । बाह्र वर्षअघि नयाँ दिल्लीको अपोलो हस्पिटलमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेको छ । प्रधानमन्त्री ओली यसबारे सचेत थिए । उनले नयाँ मिर्गौला प्रत्यारोपण अमेरिकाको अस्पतालमा गर्न खोजेका थिए । अमेरिकी अस्पतालको खोजीमा उनका निजी चिकित्सक र प्रमुख सल्लाहकार त्यता गए पनि । स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिएको पदमा बस्ने मानिसको उपचार सामान्य अस्पतालमा गर्ने कुरा आएन । उसै पनि संसारको सर्वाधिक राम्रो मानिएको अस्पतालमा उपचार गराउनु नेपालका राजनीतिकर्मीहरूको आकांक्षा हो । प्रधानमन्त्री ओली उपचारका लागि दलबलसहित विदेश गएको देखेका छन्, नेपाली जनताले । यस पटक भने उनले मिर्गौला प्रत्यारोपण स्वदेशमै गर्ने निर्णय लिए । उनको यो दह्रो आत्मनिर्णयको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । यति बेला उनी आफ्नै मामिलामा अपवाद साबित भएका छन् । यसका लागि नेपाली जनताले उनलाई धन्यवाद दिनैपर्छ । पूर्णकालीन राजनीतिमा लागेका सबै नेताका लागि प्रधानमन्त्री ओली उदाहरण बन्न सकून् । उनले स्थापित गरेको उदाहरण सबैले पछ्याऊन् ।
संसदमा झन्डै दुईतिहाइ मत पाएर शक्तिशाली सरकार बनाउने नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई उनका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूले ‘सुपरम्यान’ का रूपमा हेरेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीलाई सामान्य मानिसका रूपमा नभई ‘चामत्कारिक’ नायकका रूपमा हेरिरहेका छन् । प्रधानमन्त्री ओलीको शिरमा भारतले नेपालविरुद्ध गरेको नाकाबन्दीलाई निरस्त गरेको जस छ । यो जस कति सही हो र कति जायज हो ? यसको लेखाजोखा भएको छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंँगको उनको मित्रता घनिष्ठ र प्रभावशाली छ । तर, यो प्रभावको राजनीतिक विस्तार हुन सकेको छैन । नेपाल र भारतका बीच लिपुलेकदेखि मानेभन्ज्याङसम्मका भूमिमा विवाद छरिएका छन् । यी विवादको समाधान अहिलेसम्म खोजिएको छैन । नेपालले आफ्नो स्वाधीन र स्वतन्त्र अस्तित्वका लागि अत्यधिक महत्त्व दिंँदै आएको १९५० को नेपाल–भारत सन्धिको खारेजी पनि त्यत्तिकै अलपत्र परेको छ । आर्थिक विकासका क्षेत्रमा पनि नेपाल–भारत सम्बन्ध लरखरिएको छ । नेपालको टड्कारो आवश्यकताका रूपमा रहेको हुलाकी मार्गको निर्माणले गति लिएको छैन । यस्ता अनेक द्विपक्षीय विषय त्यत्तिकै लटकिएका छन् । भारतसँंग सल्टाउनुपर्ने अरू पनि यस्ता धेरै विषय छन्, जसको अभिलेख परराष्ट्र मन्त्रालयले राखेको होला । नेपाल–भारत सम्बन्धमा ‘ओली–मोदी’ मित्रताको भरपर्दो योगदान केलाई मान्ने हो ? सम्भवतः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंँग यसको जवाफ होला ।
प्रसंगमा, यो भन्नु समीचीन ठहरिनेछ— प्रधानमन्त्री ओलीले मोदीसंँगको मित्रतालाई नेपाल–भारतबीच आर्थिक विकासका एजेन्डा तय गर्ने काममा प्रयोग गर्नुपर्छ । व्यक्तिगत सम्बन्धको घनिष्ठताले राष्ट्रिय स्वार्थको परिपूर्ति गर्न सक्यो भने त्यसले नेताको कीर्ति अक्षुण्ण राख्न पनि मद्दत गर्नेछ । व्यक्तिगत सम्बन्ध जतिसुकै घनिष्ठ भए पनि नीति निरपेक्ष भयो भने त्यसले कुनै फल दिन सक्दैन । नेपालमा हुने राजनीतिक गतिविधिहरूलाई भारतले राजनीतिक तहमा होइन, सुरक्षा तहमा राखेर पर्यवेक्षण गर्ने गरेको छ । यसको जानकारी यहाँका प्रत्येक नेतालाई छ । तर पनि यो विसंगत अवस्था हटाउन नेपाल सरकारले कुनै प्रयास गरेको देखिएको छैन । आन्तरिक राजनीतिमा व्यस्त भएर होला, प्रधानमन्त्री ओलीको ध्यान यतातिर खिचिएको देखिँदैन । सरकारले भारतसंँग राजनीतिक स्वार्थअनुकूल व्यवहार गर्न सकेको छैन । भारतमा अहिले भाजपाको सरकार छ, जसका नेताहरू नेपालबाट राजतन्त्रको उन्मूलन भएकामा प्रसन्न छैनन् भन्ने विश्वास गरिएको छ । भाजपा नेपाललाई धर्मनिरपेक्ष देश होइन, हिन्दु राष्ट्रका रूपमा हेर्न चाहन्छ भन्ने विश्वास स्थापित गर्न नेपालका राजनीतिकर्ताहरू नै लागेका छन् ।
संविधानसभाले एक दशकसम्म ‘गहन’ छलफल गरेर बनाएको तथा पारित गरेको संविधान संक्रमणमा पर्नु पक्कै पनि दुर्भाग्य हो । संविधानलाई संक्रमणबाट बाहिर ल्याउन नसक्नु राजनीतिक खेलाडीहरूको बौद्धिक दरिद्रता हो । यो दरिद्रताका कारण देशका कतिपय जाति र जनजाति संविधानमा समेटिएका छैनन् । संविधान जारी भएको दुई वर्ष पनि पूरा नहुँदै हिन्दु राज्यको कुरा उठ्न थालेको छ । छिमेकमा हिन्दुवादी दलको सत्ता हुनेबित्तिकै नेपालमा पनि त्यसको प्रभाव देखिनुपर्छ भन्ने मानसिकताले स्थितिलाई बिथोल्छ । भाजपाको मूल सिद्धान्त हिन्दुत्व हो भने नेपाल त्यसको अनुयायी हुनुपर्छ भन्ने केही छैन । सदा सनातनदेखि यो देशमा बहुसंख्यक हिन्दुहरूको बास छ । उनीहरू बडो संयमपूर्वक आफ्नो सनातन धर्मको पालना गरेर बसेका छन् । यसमा कसैको विमति नहोला । नेपाल धर्मनिरपेक्ष देश भएकै कारण यहाँ बुद्ध धर्मको उत्तिकै सम्मान छ । बुद्ध वा हिन्दुसँंग जोडिएका स्थानीय धर्मको बाक्लो उपस्थिति छ, यो देशमा । ‘होली वाइन’ का समारोह पनि भएका छन्, यो देशमा । जनकपुरधाम र अयोध्याधामबीच सुसम्बन्ध अहिले पनि जारी छ । जसले जति कराए पनि नेपाल अहिले लोकतन्त्रको बाटामा एकाग्र हुन खोजिरहेको छ । तर, सरकारले स्थानीय तहमा अनावश्यक मुद्दामामिला बढाएको छ । उदाहरणका लागि, कैलालीका थारुविरोधी मुद्दा टुंग्याइएको छैन । यो मुद्दा टुंग्याउँदा देशले फाइदा पाउँछ । थारु जाति नेपालको धरोहर हो । यो सत्यलाई सरकारले आत्मसात् गर्नुपर्छ ।
निश्चय पनि प्रधानमन्त्री ओलीको दृढ आग्रहका कारण चीनका राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरे । यो एक किसिमको उपलब्धि थियो, नेपालका लागि । सीको भ्रमणले नेपालीहरूको आकांक्षाको नक्सामा धेरै ठूलो विस्तारको रेखा खिच्यो । चिनियाँ रेलले केरुङ बजारलाई विशाल चिनियाँ बजारको एक विन्दुका रूपमा स्थापित गर्नेबित्तिकै केरुङदेखि काठमाडौंसम्म र त्योभन्दा पर रेलको लिक बनाइदिने राष्ट्रपति सीको वचन यथासमय पूरा हुने नै छ । एक थरी नेपालीले भारतले नाकाबन्दी गरेका बेला पनि नेपालका लागि चीनको बजार खोलेकामा प्रसन्नता जनाएका छन् । उनीहरूले चीनलाई भारतको वैकल्पिक बजारका रूपमा हेरेका छन् । चीनको भ्रमण गरेर व्यापार र पारवहनको बाटो खोलेपछि प्रधानमन्त्री ओलीको लोकप्रियता बढेको हो । देशमा अहिले जुन पार्टीको शासन चलेको छ, त्यसमा नेतृत्वको लोकप्रियता बढाउने काम पहिलो मानिन्छ । हामी नेपालीहरूले अहिलेसम्म ताली नै बजाएका छौं । किनभने हामी ताली बजाउन खप्पिस छौं । हो, चीनबाट केरुङको बाटो रेल आएपछि
हाम्रा सन्तानले झन् ठूलो उत्साहका साथ त्यसको स्वागत गर्नेछन् ।
प्रधानमन्त्री ओली अस्पतालको शय्यामा पल्टिएको अवस्थामा यस्ता विचार नपचाउने धेरै होलान् । तर, यसमा त्यस्तो विभेद केही गरिएको छैन । यो भन्नु कि ‘सरकारले नारा बढी लगाएको र काम थोरै गरेको छ,’ नारा होइन यथार्थ हो । जुन परिस्थितिमा लोकतान्त्रिक व्यवस्थाको परिचालन भएको छ, त्यसले सबै नेपालीको हुर्मत लिएको छ । राजनीतिक दलहरूबीच हरेक क्षेत्रमा भएका भागबन्डाले सबै सार्वजनिक संस्था निर्जीव भएका छन् । योग्यता, क्षमता र दायित्वबोध गर्न नसक्ने मानिसहरूको भीड लागेको छ, देशमा । अयोग्यको दबदबा छ । भ्रष्टाचार पाइला–पाइलामा भेटिएको छ । हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो राज्य व्यवस्थाका रूपमा चुनेका छौं । तर, संघीय शासनलाई कमजोर बनाउने काम निरन्तर जारी छ ।
यो परिस्थितिमा प्रधानमन्त्री ओली बडो उच्च मनोबलका साथ मुस्कुराउँदै अस्पताल छिरेका छन् । उनले अस्पताल पस्दापस्दै भनेका छन्, ‘सपना अलपत्र पारेर म अलप हुन्नँ ।’ प्रधानमन्त्री ओलीका तर्फबाट यो जनतालाई दिइएको ‘दिलासा’ हो । सपना अलपत्र पारेर उनी अलप हुनेछैनन् । तर, सपना त सपना नै हुन्छ । अहिलेसम्म पनि अँध्यारोमा बस्न बाध्य भएको नेपाली समाजको रूपान्तरण गर्न उनको फूलजस्तो सुवासित सपनाले केही न केही काम त पक्कै गर्ला ! अपरेसन थिएटरबाट निस्किएका प्रधानमन्त्री ओलीलाई छिटो आराम होस्, शुभकामना !

दृष्टिकोण

महिनावारी बार्नु पनि महिला हिंसा

विश्व स्वास्थ्य संगठनका अनुसार, युरोपमा ४०–५० प्रतिशत महिला यौन दुर्व्यवहारमा पर्छन् । हरेक तीन महिलामा एक जनाले शारीरिक, यौनिक वा हिंसा अनुभूति गर्ने गरेको संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले उल्लेख गरेको छ । युनिसेफले हरेक दस मिनेटमा एक किशोरीेको हिंसाका कारण मृत्यु हुने गरेको जनाएको छ । यी तथ्यांक समुद्रमा तैरिरहेको बरफको टुप्पो मात्र हुन् ।
संसारमा महिनावारीसँग जोडिएको सोच, धारणा र व्यवहार समाजपिच्छे फरक–फरक छ । सन् २०१४ अघि विश्व मानव अधिकार र विकासको इतिहासमा महिनावारीले खासै महत्त्व पाएको थिएन । महिनावारी अज्ञानताको मौनताभित्र बन्धक भयो । समाजपिच्छे महिनावारीका कारण बालक र बालिकाबीच भिन्नता कतै पातलो, कतै बाक्लो हुन्छ । बालिकाले महिनावारी हुनुपूर्व नै घरमा आमालाई छुवाछूत गरेको व्यवहारबाट महिनावारीको अवस्था थाहा पाउँछन् । यसले बालिकामा यो अवस्था पाप वा अशुद्ध हो भन्ने धारणा बनाउँछ । बालिकामा आमाको अनुसरण गर्दै बार्नुपर्ने कुराहरू बार्दै जाने र सहने बानीको विकास हुन्छ । यस्तै सहने बानीका कारण बलात्कार वा अन्य कुनै हिंसाबाट पीडित बन्दा पनि महिलाहरू प्रायः मौन रहन्छन् ।
सोही उमेरका बालकहरूमा भने आफू शुद्ध वा शक्तिशाली छु भन्ने अहं पैदा हुँदै जान्छ । कालान्तरमा यही शक्तिको दुरुपयोग गर्दै बलात्कारीसम्म बन्न सक्छन् । जन्मँदा बालक–बालिका दुवै मानव थिए, तर महिनावारीसंँग जोडिएको सोच, धारणा र व्यवहारका कारण पीडित र पीडक बनाइए । महिलामाथि पुरुष हिंसा जैविक दोषभन्दा पनि सामाजिकीकरणको दोष हो । सजिलो भाषामा शक्ति निर्माण र दुरुपयोग घर, स्कुल, कार्यक्षेत्रबाट हुन्छ । अनुसन्धान अनुसार संसारभर महिनावारीलाई लाज, निषेध र भ्रमको मानिन्छ र महिलाहरू घर, स्कुल, कार्यक्षेत्र सबैतिर हिंसामा परेका छन् ।
महिनावारीको समयमा कुनोमा वा छाउगोठमा बस्ने, खानेकुराबाट पनि वञ्चित रहने हुँदा मानसिक रूपमा हीनताबोध उत्पन्न हुन्छ । पौष्टिक खानेकुरा (दूध, माछामासु, फलफूल, तरकारी) को अभावमा प्रतिरक्षा शक्तिमा कमी भई कुपोषण लगायत विभिन्न रोग लाग्छन् । यो पनि महिला हिंसाको एउटा रूप हो । त्यसैगरी महिनावारीका बेला ठाउँ, मानिस, वनस्पति आदि छुन नदिँदा महिलाहरूको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सहभागिता, स्वतन्त्रताको अधिकार हनन हुन्छ । महिनावारी भएका बेला घर, भान्सा, बैठक, समारोहमा सहभागी हुन नपाउनु पनि हिंसा हो । महिनावारीमा यस्ता हिंसाहरू खप्टिएका हुन्छन् ।
महिनावारी बार्ने अभ्यासका कारण पढ्न नपाउने, स्कुल छोड्नुपर्ने, राम्रो जागिर नपाउने जस्ता असरहरू देखिन सक्छन् । महिनावारीका बारेमा सत्यतथ्य जानकारी नपाउनु समेत हिंसा हो । जानकारी नपाएकाले पाठेघर, मृगौलासँंग सम्बन्धित रोग लाग्नु हिंसाकै अर्को पाटो हो । महिनावारी बार्ने अभ्यासले प्रत्यक्ष शारीरिक, मानसिक, राजनीतिक हिंसा गर्छ । अप्रत्यक्ष रूपमा पनि हिंसा गरिरहेको छ । पेटमा बच्चा भएदेखि मृत्युपर्यन्त पनि महिनावारी अभ्यासले हिंसा गरेको हुन्छ । मृत्यु संस्कारका बेला महिनावारी भएकी महिला सहभागी हुन त के, देखिन पनि हुन्न भन्ने मान्यताले यो कुरा प्रस्ट पार्छ । महिलामाथि कस्ता–कस्ता हिंसा भए, फेहरिस्त लामै छ ।
नेपाली समाजमा महिला हिंसाको अदृश्य कारण महिनावारी सम्बन्धी अभ्यास हो । महिला हिंसाको न्यूनीकरणमा लागिरहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिनावारी बार्ने कुप्रथामा अन्तर्निहित हिंसाको पाटोमा ध्यान पुर्‍याउन आवश्यक छ ।
बलात्कारमा पर्नु, श्रीमान्ले कुट्नु वा जलाउनु मात्रै महिला हिंसा हो भनेर बुझाउनु र बुझ्नु हाम्रो समाजको कमजोरी हो । संविधानको मौलिक हक सम्बन्धी धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ । त्यस्तै संविधानका विभिन्न धाराले समानताको अधिकार, छुवाछूत तथा भेदभाव विरुद्धको हक, शोषण विरुद्धको अधिकार, स्वच्छ वातावरणको अधिकार, स्वास्थ्यको अधिकार, खाद्यको अधिकार, आवासको अधिकार, महिलाको हक र बालबालिकाको अधिकार सुनिश्चित गरेका छन् ।
महिनावारी भएका बेला महिलामाथि असंख्य सामाजिक बन्देज लाद्ने गरिएको छ । के छुन हुने र के नहुने, कता जान हुने र नहुने जस्ता कुचलनले महिलालाई दीनहीन बनाइरहेका छन् । यस्ता रूढिका कारण महिलाहरू पलपल हीनताबोधले थिचिन बाध्य छन् ।
घरेलु हिंसा कसुर ऐन–२०६६ ले पनि महिनावारीलाई हिंसाकै रूपमा परिभाषित गरेको छ । उक्त ऐनले भन्छ— कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को
कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना .... हिंसा सम्झनुपर्छ ।
के गाउँ के सहर, के स्वदेश के विदेश, के पढालेखा के अनपढ, सबैजसो नेपाली महिलाका लागि महिनावारी बार्नु आवश्यक ठानियो । कतिपय सन्दर्भमा धर्म, संस्कार र संस्कृतिका कारण यस्तो कुचलनले जरो गाड्दै गयो । तर, अब यसलाई जरैदेखि उखाल्न ढिलो भइसकेको छ । नत्र महिला हिंसा पनि घट्नुको साटो चुलिँदै जान्छ । महिला हिंसामुक्त नेपाली समाजका लागि महिनावारीलाई मर्यादित बनाउनुको विकल्प छैन ।

राधा पौडेल

दृष्टिकोण

विदेशियाहरूको बात

डेटलाइन तराई
- चन्द्रकिशोर

 

उसको नाम विदेशिया हो । देहाततिर बस्छ । दस–बाह्र वर्षको विदेशियाको कामै आफ्नो घरपरिवारलाई सघाउनु हो । दिनचर्या उही— घाँस काट्नु, भैंसी चराउनु । तर ऊ जे काम पनि मन लगाएर गर्छ । तन्मयताले दूध दुहुँदा उसका औंलाहरू यति लयबद्ध हुन्छन् कि, हेर्नेहरू पनि छक्क पर्छन् । ऊ गफ पनि रमाइलो गर्छ । ‘विदेशिया, तिमी स्कुल जाँदैनौ ?’ भनी कसैले सोधे, ऊ तुरुन्त जवाफ दिन्छ, ‘यो त अल्छीहरूको काम हो । जोसंँग काम हुँदैन, उही स्कुल जान्छ ।’ उसले पक्कै घरमा यस्तो कुरा सुनेको हुनुपर्छ । ऊ आफू कमासुत (काम गर्ने) भएकामा दंग रहन्छ । त्यही प्रश्न उसका बुबालाई सोधियो भने सोझो जवाफ हुनसक्छ, ‘स्कुल पठाएर के हुन्छ ? पढेर कसले रोजगारी पायो ? पाइयो भने पनि कति पैसा पाउला ?’ थप कोट्याउनुभो भने उनले अगाडि थप्लान्, ‘गुजारा गर्नको लागि जेजति सिक्नुपर्ने हो, त्यो त विदेशियाले घरगृहस्थीको कामबाटै सिकिहाल्छ ।’ तपाईंको अर्को जिज्ञासामा उनले भन्लान्, ‘जुन पढाइ–लेखाइले पेट पाल्ने नौकरी दिन सक्दैन, त्यस्तो पढाइले बरु यस्तो रोजीरोटी चल्ने धन्दालाई हेला गर्न सिकाउँछ ।’ विदेशिया पढ्न थाल्यो भने पहिले उसले घरपरिवारमा गर्दै आएको धन्दालाई छाड्न सक्छ, त्यो काम गर्नुमा आफ्नो गरिमा हराएको ठान्न सक्छ र आफ्ना बुबालाई ‘गंँवार’ ठान्न सक्छ !
गाउँ–देहातमा विदेशिया र उसका बुबाजस्तै मान्छेहरू कम छैनन् । कतिपय यस्ता विदेशियाहरू विदेसिएका पनि छन् । यो कथाले ठूलो आबादीको प्रतिनिधित्व पक्कै गर्छ, जसको जीवनचक्र, अस्तित्वरक्षाका लागि जारी जीवन संघर्ष र जिजीविषासंँग जोडिएको उसको समझदारी अक्षर ज्ञानको आकांक्षी छैन । यो समूह प्रदेश वा समाजको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक संरचना वा सञ्चालनका निम्ति एउटा अभिन्न साझेदार हो । अब यो आबादीले प्रश्न गर्दै छ— लेखपढ किन गर्ने ? यो आबादीलाई बाँच्नका निम्ति स्वयंको परिवार र जिन्दगीले जे सिकाउँछ, त्यो शिक्षाले दिन्छ भन्ने लाग्दैन । विदेशियाको कथा हाम्रो वर्तमानको त्रासदी हो, जसले एकै पटक कैयौं संकटतर्फ संकेत गर्छ । यसले साक्षर नेपालको संकल्पलाई समेत गिज्याउँछ ।
तपाईंका वरिपरि विदेशिया जस्तै पल्टु, सोनफी, बटेसर, इस्माइल हुन सक्छन्, जो स्कुल जान पाएका छैनन् । विद्यालय समाजकै सानो रूप हो । त्यहाँ समाजको कुन तप्का पुगेको छ, कसरी पुगेको छन् वा त्यहाँ पुग्नुलाई कसरी लिइरहेको छ, यसले विद्यार्थी–विद्यालय सम्बन्धलाई देखाउँछ । स्कुल छेवैको बच्चाले पढ्न पाएको छैन, त्यसबाट लाभ लिन सकेको छैन वा पढाइको विरुद्धमा सोचाइ बनाएर बसेको छ भने त्यो कसको असफलता हो ? कुनै तप्काले स्कुल नगए पनि आफ्नो जिन्दगीको गाडी गुडेकै छ भन्ने ठान्नु र स्कुलबाट दूरी राख्न चाहनु त्यो तप्काको मात्र होइन, स्कुल र स्थानीय सरकारकै असफलता हो । स्कुल भनेको समाजसंँग समुदायविशेषको अन्तरक्रिया पनि हो । स्कुलको अवस्था, त्यसबारे जनसामान्यको बुझाइले स्कुलको भूमिका निर्धारण हुन्छ । अब त यसले घरछेउको सरकारको अनुहारलाई समेत प्रस्ट्याउँछ ।
भुइँतहमा व्याप्त यस्तै मनोविज्ञानले विदेशियाहरू वैदेशिक रोजगारीतर्फ धकेलिएका छन् । अभिभावकहरू उमेर बढाएर भए पनि बच्चालाई चाँडो कमाउन पठाउने ध्याउन्नमा हुन्छन् । अरूका त्यही उमेरका बच्चा स्कुल दौडिरहेका बेला आफ्ना बच्चा घरकै काममा लागिरहँदा वा अलि ठूलो भएपछि कमाउन बाहिरिँदा अभिभावक दंग पर्ने मनोविज्ञानको विकास भयो कसरी ? आर्थिक अवस्था कमजोर भएकै कारण यस्तो तात्कालिक लाभको सोचाइ उब्जिएको हो ? तुरुन्त तृप्त हुने मनोविज्ञानका पछाडि कुन खालको आर्थिक–सामाजिक विन्यासले काम गरिरहेको छ ? भुइँतहमा व्याप्त यस्तो मनोविज्ञानका लागि दोषी को हो ? यस्ता प्रश्नहरूको उत्तर नखोजेसम्म स्कुलभित्र सिंगो समाजको प्रतिनिधित्व हुन पाउँदैन । एउटा तप्का स्कुलबाट टाढिइरहने परिस्थिति उब्जिरहन्छ ।
विदेशिया जस्ताका बाबुको एउटा चिन्ता जायज देखिन्छ । त्यो हो— लेखपढ गर्न थालेपछि खेतीकिसानीलाई उपेक्षाको दृष्टिले हेरिनुÙ पढेपछि घरकै काममा सहयोग गर्न लाज मान्न थाल्नु र अहिलेको शिक्षाले रोजगारी दिन नसक्नु । यो अवस्था आयो कसरी ? कसले यसका बारे खोजीनिती गर्ने ? यस्ता बुझाइ रहेसम्म कृषिमा रूपान्तरणको कामलाई मूर्त रूप दिन सकिन्न । मान्छेले सधैं केही न केही सिकिरहेको हुन्छ, आजीविका चलाउन । यसले उसलाई बाँच्ने सामर्थ्य दिन्छ, साहस दिन्छ । हामी जसलाई लेखपढ गराउने भन्दै छौं, उसलाई पनि त्यसै अनुरूप ढाल्नुपर्छ, ताकि उसले त्यो आबादीलाई लेखपढ पनि आजीविकाका लागि जरुरी हुन्छ भन्ने अनुभूति गराउन सकोस् । जबसम्म यस्तो गरिँदैन, हाम्रो बाह्रखरीले त्यो आबादीलाई आकर्षित गर्दैन । साक्षरताको कार्यक्रमले त्यसलाई पहिचान र गरिमा दिन्छ । आफू सार्वभौम भएको अनुभूति दिलाउँछ । के बिर्सनु हुन्न भने, प्रत्येक आन्दोलन अधिकार र स्वतन्त्रतासँंग अनिवार्य रूपमा जोडिएको हुन्छ । त्यस्तो अधिकार र स्वतन्त्रताप्राप्तिको सम्भावनाको ढोका खोल्ने अक्षरलाई त झन् जनआन्दोलनको विषय बनाउनुपर्छ ।
स्वाधीनता र कल्पनाशीलताको सम्भावनाले नै अक्षरहरूलाई अक्षर वा अमर बनाउँछ । जब मान्छे स्वयं पढ्न–लेख्न थाल्छ, तब उसले सोच्न थाल्छ, निर्णय लिन थाल्छ, जुन मुक्तिको दिशामा, दिमागको स्वतन्त्रताको दिशामा ठूलो फड्को हुन्छ । पढाइ–लेखाइबिना पनि कसैले कमाइ त गर्न सक्छ, तर पढेपछि कमाइ थप सुरक्षित हुन्छ । घरकै कामकाजबाट आय आर्जन गर्न पनि पढ्नुपर्छ भन्ने बुझाइ भुइँतहमा विस्तार गर्न जरुरी छ । विदेशिया र उसका बाबुले विभेद र बन्धकीको अर्थ बुझ्छन् र पक्कै त्यसको जाँतोमा पिल्सिन चाहँदैन भने स्कुलसँंग तिनको साइनो जोडिदिनैपर्छ । किनकि सामाजिक–आर्थिक अवस्था कमजोर भएकाहरू मात्रै स्कुलबाट टाढिएका छैनन् । कसैले लेखपढमाथि नै किन प्रश्न उठाउँछ भन्ने बुझ्न समग्रतामा यसको केस्रा–केस्रा केलाउनुपर्छ । सरकारले निरक्षरता उन्मूलन गर्न यस्ता भुइँ यथार्थबारे ध्यान दिनैपर्छ ।
अर्को कोणबाट पनि हेरौं । निरक्षरता उन्मूलनका नाममा हामी तिनलाई लेखपढ गर्न सिकाउँदै छौं, जसले जीवनलाई हामीभन्दा बढी बुझेका छन् । जबसम्म स्थानीय ज्ञान, परम्परा र उत्पादनलाई सगोलमै राखेर अहिलेका सरकारी उपक्रम अगाडि बढ्दैनन्, तबसम्म ठूलठूला नाराहरूले सार्थकता पाउँदैनन् । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुंँच र सार्थक प्रतिनिधित्वका लागि समावेशी शिक्षा चाहिन्छ र त्यसको प्रत्याभूति गर्ने प्रारम्भिक जिम्मेवारी स्थानीय सरकारको हो । फरक क्षमता भएका बालबालिकालाई छेउकै स्कुलसंँग कसरी जोड्ने र तिनमा हुर्किंदै गरेको भिन्न हुँ भन्ने बुझाइलाई कसरी हटाउने, त्यसतर्फ स्कुलहरूलाई अभिप्रेरित गराउन ढिलो हुँदै छ ।
आफ्नै वरिपरि रोजगारी र उद्यमशीलताका अवसरहरू विकसित गर्न सके गाउँ रित्तिने अवस्थामा कमी आउँथ्यो । तर के भइरहेको छ भने, घरनजिकको सरकार रोजगारमूलक तालिमका नाममा स्थानीय आवश्यकता, माग र सम्भावनामाथि जोड दिनुको साटो कर्मकाण्डी तालिममा अल्झिएको छ । स्थानीय सरकारहरूको सफलता र सार्थकता रित्तिँदा गाउँमा जीवन फर्काउनुमा हुन्छ । अनि पो कृषि संस्कृतिसंँग जोडिएको फागु पर्वका बेला खुसी र समृद्धिको कामनासाथ गाइने ‘सदा आनन्द रहे एही दुआरे, मोहन खेले होरी हो’ ले सही अर्थ पाउँथ्यो । अहिले त फागुका लागि भारत र खाडी मुलुकबाट घर फर्कंदै गरेका अनपढ विदेशियाहरू सामान्य लेखपढ गर्न नजानेकै कारण रोजगारी स्थलमा बेहोर्नुपरेका हैरानीका माझ गाइरहेका छन्—
भइवा रे, हमको मिला धक्का,
धक–धक धक्का
हम तनिको न घबराए,
न हुए हम हक्का–बक्का
जोगिडा सारारारा... ...

Page 8
विदेश

तालिवानमाथि आक्रमण

अमेरिका र तालिवान लडाकुद्वारा शान्तिसम्झौता उल्लंघन
- एजेन्सीहरू

 

वासिङ्टन – अमेरिकी सेनाले अफगानिस्तानको तालिवान लडाकुविरुद्ध हवाई आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समूहका नेतासँग ‘धेरै राम्रो वार्ता भएको’ बताएको केही घण्टापछि तालिवानविरुद्ध उक्त आक्रमण गरेको बीबीसीले जनाएको छ । अफगानिस्तानमा वर्षौंयता जारी युद्ध अन्त्यका लागि शनिबार अमेरिकाले तालिवानसँग एउटा महत्त्वपूर्ण सम्झौता गरेको थियो ।
अमेरिकी सुरक्षा बलका प्रवक्ताले भने, ‘हेलमन्ड प्रान्तमा अफगान सुरक्षा बल लक्षित तालिवानी लडाकुले आक्रमण गरेको जबाफमा बुधबार समूहविरुद्ध हवाई आक्रमण गरिएको हो ।’ यसबारे तालिवान पक्षबाट कुनै प्रतिक्रिया आएको छैन । अमेरिकी हवाई आक्रमणमा भएको जनधनको क्षतिबारे तत्कालै केही बताइएको छैन । दुई पक्षबीच शनिबार भएको सम्झौतामा एकअर्कामाथि आक्रमण नगर्ने उल्लेख छ । तर अमेरिकाले ११ दिनयता सम्झौतापछि पहिलोपटक तालिवानविरुद्ध आक्रमण गरेको छ । अफगानिस्तानमा अमेरिकी बलका प्रवक्ता कर्नेल सोन्नी लेगेटले ट्वीटमार्फत भनेका छन्, ‘अफगान राष्ट्रिय सुरक्षा बलको जाँचचौकीमा भएको आक्रमणविरुद्ध ‘रक्षात्मक जवाफी’ कारबाही गरिएको हो ।’
यसैबीच, चिनियाँ समाचार समिति ‘सिन्ह्वा’ का अनुसार तालिवनी लडाकु समूहले अफगानिस्तानको दुइटा प्रान्तमा गरेको आक्रमणमा परी कम्तीमा १९ अफगान सैनिक मारिएका छन् ।
अफगानिस्तानको कुन्दुजमा भएको आक्रमणमा परी १२ अफगान सैनिकको मृत्यु हुनुका साथै अन्य ४ जना घाइते भएका छन् । प्रान्तीय राजधानी कुन्दुज सहर बाहिर इलाकमा उत्तरी क्षेत्रमा रहेको बाघ ई सिर्कातस्थित सैनिक शिविरमा आक्रमण भएको प्रान्तीय परिषद्का फावजिया जवादले बताए ।
उनका अनुसार मध्यरातबाट सुरु भएको आक्रमण र त्यसपछि दोहोरो झडपमा परी तालिवान आतंककारी समूहका कैयौं सदस्य मारिएका छन् । कुन्दुज सहरकै पूर्वी भागमा पर्ने इलाकामा तालिवानी लडाकु समूहले गरेको अर्को छुट्टै आक्रमणमा परी ४ जना स्थानीय प्रहरी मारिएका छन् । उक्त आक्रमणपछिको झडपका परी तालिवानी लडाकुका तीन सदस्य पनि मारिएका स्थानीय प्रहरीले बताए ।
कुन्दुज प्रान्तको छिमेकमा पर्ने बाल्ख प्रान्तमा तालिवान लडाकुको आक्रमणमा परी अफगान स्थानीय प्रहरीका तीन सदस्य मारिएका छन् । बाल्ख प्रान्तको बाल्ख जिल्लाको समार्कानयान गाउँमा सो आक्रमण भएको थियो । अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच गत शनिबार (फेब्रुअरी २९ मा) कतारको दोहामा शान्तिसम्झौतामा हस्ताक्षर भएको थियो ।
सम्झौताका लागि अमेरिकाका तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र तालिवानी समूहका नेता कतारको राजधानीमा पुगेका थिए । सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रद्वारा उत्तर एटलान्टिक सन्धि संगठन
(नेटो) अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र फिर्ता लाने सहमति भएको छ । सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा तैनाथ ८ हजार ६ सय सैनिकलाई अगामी १ सय ३५ दिनभित्रमा पहिलो चरणमा फिर्ता लगिने छ भने अमेरिका र उसका सहयोगीले बाँकी सबै सैनिकलाई १४ महिनाभित्र फिर्ता गर्ने विज्ञप्तिमा उल्लेख छ ।
सम्झौताअनुसार अफगानी विद्रोहीको प्रभाव क्षेत्रमा अल कायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणमा तालिवान समूहले सरकारलाई सहयोग गर्ने छ । दोहा सम्झौताले विगत १८ वर्षदेखि अफगानिस्तानमा तैनाथ भई लड्दै आएका हजारौं अमेरिकी सेनालाई फिर्ता हुने वातावरण मिलेको भए पनि आक्रमणले सम्झौतामाथि प्रश्नचिह्न खडा गरिदिएको छ ।

विदेश

इरानमा ५४००० कैदी मुक्त

२३ इरानी सांसद कोभिड–१९ बाट संक्रमित
- एजेन्सीहरू
इरानको राजधानी तेहरानस्थित भूमिगत रेलमा कोरोना भाइरस संक्रमण रोक्न औषधि छर्कदै कर्मचारी ।तस्बिर ः एपी

 

तेहरान, इरान – कोराना भाइरस (कोभिड–१९) फैलिएपछि इरानले ५४ हजार कैदीलाई अस्थायी रूपमा कारागार मुक्त गरेको छ । न्यायिक प्रवक्ता गुलाम हुसेन इस्माइलका अनुसार भाइरस संक्रमण फैलिन नदिन सरकारले उक्त निर्णय गरेको हो । कारागारमा केही कैदीको स्वास्थ्य परीक्षण गर्दा संक्रमित भएको भेटिएपछि थपमा फैलिनबाट रोक्न उनीहरूलाई रिहा गरिएको हो ।
इस्लाइलले भने, ‘इरानी करागारमा कैदीहरू धेरै छन्, संक्रमितबाट भाइरस फैलिन सक्छ । त्यसैले पछिल्लो निर्णय गरिएको हो ।’ सरकारले संक्रमण फैलिन नदिन इरानले हजारौं स्वास्थ्यकर्मी परिचालन गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार मुलुकमा कोभिड–१९ बाट मृत्यु भएको संख्या बुधबार ९२ पुगेको छ । इरानमा ५ सय ८६ जना नयाँ संक्रमितसहित संख्या २ हजार ९ सय २२ पुगेको छ । इरानी सहर क्वामस्थित विभिन्न पवित्र धार्मिक स्थलमा अत्यधिक भीडभाडका कारण कोरोना भाइरस फैलिएपछि इरान सरकारमाथि दबाब परेको छ ।
उक्त क्षेत्रमा इराक, कुवेत, संयुक्त राज्य इमिरेट्स र बहराइनका धर्मावलम्बीसमेत आएको बताइएको छ । इरानी अधिकारीहरूले सुरुमा आफ्ना नागरिकलाई भाइरस नियन्त्रणमा आउने आश्वस्त परे पनि २३ सांसद संक्रमित भएपछि सुरक्षाको उपाय अप्नाउन सरकार बाध्य भएको हो । इरानको २ सय ९० सदस्यीय संसद्मा २३ सांसद
(८ प्रतिशत) संक्रिमत छन् । कम्तीमा ७ जना सरकारी अधिकारीको कोभिड–१९ बाट मृत्यु भइसकेको छ । तीमध्ये इरानी सर्वोच्च नेता आयोतोल्ला अलि खमेनीका एक जना सल्लाहकारको सोमबार मृत्यु भएको थियो ।

चिनियाँ मूलका विद्यार्थीमाथि आक्रमण
चिनियाँ मूलका सिंगापुरका एक विद्यार्थीमाथि बेलायतको राजधानी लन्डनमा आक्रमण भएको छ । कोरोना भाइरस (कोभिड–१९) लाई जातीयतासँग जोडेर भइरहेको आक्रमणको पछिल्लो तारो ती विद्यार्थी बनेका हुन् । लन्डनमा पढ्दै आएका २३ वर्षीय जोनाथन मोकमाथि आक्रमण भएको हो । उनले फेसबुकमार्फत लन्डनको अति व्यस्त मानिने अक्सफोर्ड स्ट्रिटमा एउटा समूहले गरेको आफूमाथि आक्रमण गरेको जनाएका छन् । गत फेब्रुअरी २४ मा भएको उक्त आक्रमणबारे उनले आफ्नो स्टाटसमा विस्तृत रूपमा लेखेका छन् ।
मोकले लेखेका छन्, ‘मलाई एक जनाले मुक्का हान्दै ‘तेरो कोरोना भाइरस मेरो देशमा भित्रियोस् भन्ने चाहन्नँ’ भन्दै फेरि मेरो नाकमा मुक्का बजारेर रगताम्मे बनाए ।’ पछिल्लो समय कोभिड–१९ को संक्रमण र पूर्वी एसियाका नागरिकलाई जोडेर हेर्ने र उनीहरूलाई निसाना बनाउने गतिविधि बेलायत र पश्चिमा मुलुकमा बढिरहेको छ । लन्डनको महानगरीय प्रहरीले मोकमाथि भएको आक्रमण जातीयताको घृणाले ग्रसित भएको जनाएको छ । प्रहरीका अनुसार सीसीटीभी क्यामेराको सहयोगमा दोषीको खोजी भइरहेको छ ।
मोकले आफूमाथि यसअघि पनि नश्लीय आक्रमण भएको बताए । ‘दुई वर्षयता म लन्डनमा छु । धेरैपटक ममाथि नश्लीय आधारमा घृणा मिश्रित टिप्पणी र व्यवहार गरिएका छन्,’ उनले भने, ‘लन्डन नश्लीय छैन भन्नेलाई यसबारे एकपटक सोच्न आग्रह गर्छु ।’
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु कोभिड–१९ को संक्रमण विश्वव्यापी फैलिँदै गएपछि चिनियाँ नागरिक र पूर्वी एसियाका नागरिकमाथि जातिवादी आक्रमणका घटना भइरहेका छन् । ‘स्टप हेट यूके’ का अनुसार पछिल्लो समय जातिवादी टिप्पणी, भेदभाव र गालीगलौजका घटनाबारेमा जानकारी आइरहेको छ । त्यस्तै, अमेरिकामा पनि रंगभेदी व्यवहारका घटनामा वृद्धि भएको छ ।
वुहानबाट सुरु कोभिड–१९ ले बुधबार दिउँसोसम्म ३ हजार २ सय ४ जनाको मृत्यु भएको छ भने ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । बुधबारसम्म चीनमा मात्रै २ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ । ८० हजार २ सय ८२ जनामा संक्रमण देखिएको छ ।
चीनबाहिर सबैभन्दा बढी इटालीमा ७९ जनाको मृत्यु भएको छ । इटालीमा २ हजार ५ सय २ जनामा संक्रमण देखिएको छ । त्यस्तै, इरानमा ७७ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ३६ जनामा संक्रमण देखिएको छ । यसैगरी, दक्षिण कोरियामा ५ हजार ६ सय २१ जनामा संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ । त्यस्तै बुधबार दिउँसोसम्म अमेरिकामा ९, जापानमा १२, फ्रान्समा ४, हङकङमा २ तथा स्पेन, थाइल्यान्ड, अस्ट्रेलिया, ताइवान, इराक, सान मारिनो तथा फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या २८
भारतमा ‘कोभिड–१९’ बाट संक्रमितको संख्या २८ पुगेको छ । भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनका अनुसार बुधबार २२ जना तपिएकै संक्रमितको संख्या २८ पुगेको हो । उनले भने, ‘तीमध्ये केरला राज्यका ३ जना संक्रमित निको भई घर फर्किसकेका छन् ।’ नयाँ संक्रमितमध्ये १६ जना राजस्थानस्थित जयपुरमा हुन् । तीमध्ये १५ जना इटालेली र एक भारतीय छन् ।
उक्त समूह छुट्टी मनाउन भारत आएको र संक्रमित भारतीय बस चालक रहेको स्वास्थ्यमन्त्री हर्षवर्धनले जनाए । अन्य ६ जना नयाँदिल्लीका एकै परिवारका हुन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको आशंकामा ६६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरू सबैलाई नयाँदिल्लीस्थित सफदरजङ अस्पतालको आइसोलेसनमा राखिएको छ ।
यसैबीच, इराकमा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार ६३ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । इराकमा ३२ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । इराकको राजधानी बग्दादका सबै विद्यालय र विश्‍वविद्यालय १० दिनका लागि बन्द गरिएका छन् ।

सिंगापुरबाट फर्केकी महिलामा संक्रमण
सिंगापुरबाट न्युजिल्यान्डको अक्ल्यान्ड पुगेकी एक महिला यात्रुमा बुधबार कोरोना भाइरसको संक्रमण देखिएको छ । अधिकारीहरूका अनुसार न्युजिल्यान्डमा कोभिड–१९ बाट संक्रमित भएका उनी दोस्रो व्यक्ति हुन् । संक्रमित हुनुअघि ती यात्रु इटालीको भ्रमण गरेकी थिइन् । तिनी गत फेब्रुअरी २५ मा सिंगापुरबाट ‘एनजेट २८३’ विमानबाट अक्ल्यान्ड पुगेकी थिइन् । अखबार ‘द न्युजिल्यान्ड हेराल्ड’ का अनुसार ती महिलालाई उनकै घरमा आइसोलेसनमा राखिएको छ ।

विदेश

डेमोक्र्याट बाइडेनलाई अग्रता

- एएफपी

वासिङ्टन, अमेरिका – डेमोक्रेटिक पार्टीको ‘प्राइमरी’ चुनावमा पूर्वउपराष्ट्रपति जो बाइडेनले फराकिलो अग्रता प्राप्त गरेका छन् । राष्ट्रपतिकी आकांक्षी सिनेटर एलिजाबेथ वारेनलाई आफ्नै गृहराज्य म्यासाचुसेट्समा बाइडेनले पराजित गर्दै अग्रता हासिल गरेका हुन् ।
अमेरिकी समकालीन राजनीतिमा सिनेटर बर्नी स्यान्डर्स र वारेन दुवैले समाजवादी प्रगतिशील धारको प्रतिनिधित्व गरिरहेका छन् । आगामी जुलाईमा हुने डेमोक्रेटिक पार्टीको सम्मेलनका लागि म्यासाचुसेट्स राज्यबाट ९१ जना प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था छ । आफ्नै गृहराज्यबाट पराजित भएसँगै वारेनको चुनावी दौड समाप्त हुने अड्कलबाजी गरिएको छ ।
पूर्वउपराष्ट्रपति बाइडेनले मंगलबार १४ वटा राज्यमा सम्पन्न चुनावमध्ये ८ वटामा विजयी हासिल गरिसकेका छन् । डेमोक्रेटिक पार्टीको अन्तिम सम्मेलनबाट चुनिने व्यक्तिले अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्न पाउने छन् । अर्का प्रतिस्पर्धी स्यान्डर्सले भने तीनवटा राज्यमा मात्र विजय हासिल गरेका छन् ।
पछिल्लो मतपरिणामअनुसार बाइडेनले म्यासाचुसेट्ससहित अलाबामा, अर्कान्सा, मिनेसोटा, ओक्लाहोमा, नर्थ क्यारोलिना, टेनेसी र भर्जिनिया तथा स्यान्डर्सले भर्मन्ट, कोलोराडो र उटाहामा विजयी भए ।
सन् २०१६ मा सम्पन्न ‘प्राइमरी’ चुनावमा स्यान्डर्सले हिलारी क्लिन्टनलाई मिनेसोटा र ओक्लाहोमामा परास्त गरेका थिए । तर यसपटक उनी यी दुई राज्यमा पराजित भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । तेलको धनी राज्य क्यालिफोर्निया र टेक्सासको चुनावी नतिजा आउन बाँकी छ । यी राज्यमा स्यान्डर्सको उपस्थिति बलियो रहेको मानिन्छ ।
मंगलबारको यस प्राइमरीमा कूल १ हजार ३ सय ५७ जना पार्टी प्रतिनिधिले मतदान गरेका थिए । देशका कूल पार्टी प्रतिनिधिमध्ये यो संख्या करिब एकतिहाइ हो । पूर्वउपराष्ट्रपति बाइडेनलाई डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताले समर्थन जनाएका छन् । उनलाई चुनावी प्रतिस्पर्धामा रहेका एमी क्लोबुचार र पिट बुटिजिजले पनि समर्थन गरेका छन् । दुवैले चुनावी प्रतिस्पर्धाबाट हटेका छन् ।
धेरैवटा राज्यमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न नसकेका कारण स्यान्डर्सको उम्मेदवारीमाथि प्रश्नचिह्न लागेको छ । तर उनले क्यालिफोर्नियामा आफ्ना उत्साही समर्थकलाई सम्बोधन गर्दै अमेरिकाको इतिहासमा सर्वाधिक खतरा ठानिएका ट्रम्पलाई हराउन आफूमात्र सक्षम रहेको दाबी गरे । ‘पुरानै शैली, व्यवहार र एजेन्डाका आधारमा ट्रम्पलाई हराउन सकिन्न भन्ने कुरा सबैले बुझ्नुपर्छ,’ स्यान्डर्सले भने ।
लस एन्जलसमा समर्थकलाई सम्बोधन गर्दै बाइडेनले आफ्नो चुनावी यात्रा निकै जीवन्त रहेको प्रतिक्रिया दिएका छन् । ‘कुनै गल्ती नगरौं, अबको चुनावबाट डोनाल्ड ट्रम्प बिदा भएरै छाड्ने छन्,’ उनले भने ।
राष्ट्रपतिको उम्मेदवार हुन चाहने मुख्य चारै जना प्रतिस्पर्धी ः– बाइडेन, स्यान्डर्स, एलिजाबेथ वारेन र माइकल ब्लुमबर्गले क्यालिफोर्नियाको चुनावी नतिजा पर्खिरहेका छन् । अर्बपति व्यापारी एवं न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले चुनावका लागि करोडौं डलर खर्च गरे पनि उनी समोआ द्वीपबाहेक कुनै पनि स्थानमा विजयी प्राप्त गर्न सकेनन् ।
चुनावी नतिजा टेलिभिजनमा हेरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवारप्रति विगतमा झैं व्यंग्यपूर्ण ट्वीट गरेका छन् । यसको प्रत्युत्तरमा बाइडेनले ‘नोभेम्बरमा भेटौंला, हामी तपाईंलाई अवश्य हराउने छौं’ भन्दै ट्वीट गरेका छन् ।

Page 9
कला र शैली

कोरोनाको असर हलमा

बुधबार क्याम्ब्रिज पब्लिक हाई स्कुलले फिल्म ‘सेन्टी भाइरस’ सो कुमारी हलमा बुक गरेको थियो । तर, कोरोना डरका कारण सो नै रद्द गरियो ।
- रीना मोक्तान

राजधानीको क्यूएफएक्स हलमा सरसफाइ गरिँदै । तस्बिर सौजन्य ः क्यूएफएक्स

 

(काठमाडौं) - काठमाडौं– कोरोना भाइरसले फिल्म हललाई पनि प्रभावित तुल्याएको छ । बुधबारबाट राजधानीको मल्टिप्लेक्स क्यूएफएक्सले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सतर्कता अपनाउन सुरु गरेको छ । दर्शकको भीड हुने ठाउँ भएकोले हलमा स्यानिटाइजर अनि विभिन्न स्प्रेको प्रयोग गर्न थालेको क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले बताए ।
दर्शकको हात पर्ने विभिन्न स्थानमा स्यानिटाइजर प्रयोग गरेको उनले बताए । ‘हाम्रो दायित्व त पूरा गर्नुप‍र्‍यो नि । हामीले टिकट, सोधपुछ काउन्टर अनि शौचालयमा हृयान्ड स्यानिटाइजर राख्न थालेका छौं । हुन त हामी पहिले पनि सरसफाइमा ध्यान दिन्थ्यौं । अहिले थप सरसफाइमा ध्यान दिन थालेका हौं,’ उनले भने, ‘ढोका समात्ने ठाउँ दर्शकको जता धेरै पर्छ त्यताचाहिँ स्प्रेको प्रयोग गरेका छौं । फिल्म सकिनेबित्तिकै हात राख्ने ठाउँमा स्प्रे गर्न थालेका छौं ।’
दर्शक नडराऊन् भन्ने हेतुले यस्तो सतर्कता अपनाएको उनी दाबी गर्छन् । ‘हामीले कोरोनालाई बेवास्ता गरेका छैनौं । हाम्रा हलमा आउने दर्शक नडराऊन् भनेर नै यो सतकर्ता अपनाएका हौं । हामीले त रोकथामको बाटो न अपनाउने हो,’ उनले सुनाए । दर्शकमध्ये कसैले हाच्छिउँ गर्‍यो भने त्यस व्यक्तिको स्वाथ्यबारे सोधखोज गर्ने अभ्यास थालिसकेको पनि अडिगा बताउँछन् । उनका अनुसार १ हप्ताका लागि क्यूएफएक्सले स्यानिटाइजर अनि स्प्रेको व्यवस्था गरेको छ । ‘तर मास्क जस्तै अबका दिनका लागि बजारमा स्यानिटाइजर पाइन छोडेपछि तनाव बढेको छ,’ उनले थपे ।
मानिसको भीड हुने ठाउँ भएकाले फिल्म हल पनि बन्द गरिनुपर्ने चर्चा चल्न थालेको छ । नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले भने हल बन्द गर्ने या नगर्ने विषय छलफल गरेर छिट्टै निचोड निकाल्ने बताए । कलाकार दीपकराज गिरी भने हल मात्रै बन्द गर्न नहुने तर्क गर्छन् । ‘स्कुल, कलेज, सेमिनार, सभा, जुलुसजस्ता बृहत् भेला बन्द हुन्छन् भने सिनेमा पनि अवश्य बन्द हुनुपर्छ,’ दीपकले भने, ‘यदि होसियारीपूर्वक सबै कुरा नियमित ढंगबाटै चल्छ भने सिनेमा हल मात्रै किन बन्द हुनु ? तर दर्शकसँगै हल सञ्चालक भने सचेत हुनुपर्‍यो ।’ कोरोनाको त्रास देखिए पनि फिल्म हेर्न आउने दर्शकको संख्यामा खासै असर नपरेको अडिगाले दाबी गरे ।
उता क्यूज सिनेमाजका सञ्चालक सुमित मैनालीले २ साताअघि नै स्यानिटाइजर विभिन्न प्रवेशद्वारमा राखेर सतर्कता अपनाउन थालेको बताउँछन् । कोरोनाको त्रास फैलिएसँगै प्रदर्शनरत फिल्मको व्यापारमा पनि यसको प्रभाव देखिन थालेको छ । बुधबार क्याम्ब्रिज पब्लिक हाई स्कुलले फिल्म ‘सेन्टी भाइरस’ को ९ बजेको सो कुमारी हलमा बुक गरेको थियो । तर, कोरोना डरका कारण सो नै रद्द गरियो । ‘उहाँहरूले रंगशाला सहयोगार्थ भनेर उक्त सो बुक गर्नुभएको थियो । विद्यालयका विद्यार्थीसहित परिवारले यो फिल्म हेर्ने तयारी थियो,’ सीताराम कट्टेल (धुर्मुस) ले सुनाए, ‘कोरोनाकै डरले विद्यालयले बिहानै सो क्यान्सिल गर्ने निर्णय गर्यो । तर उहाँहरूले सहयोग रकम फाउन्डेसनलाई दिने वाचा गर्नु’भा छ ।’
प्रदर्शनको तयारीमा रहेका फिल्मलाई समेत यो त्रासले असर गर्ने देखिएको छ । केही फिल्मकर्मी फिल्मको प्रदर्शन नै सार्ने तयारीमा थालेको चर्चा छ । विश्वका ठूला फिल्म उद्योग पनि कोरोना त्रासको चपेटामा परेका छन् । चीनको फिल्म बजार कोरोनाले ठप्प नै बनाएको छ । यसको प्रभाव इटालीमा पनि देखिएको छ । चीनको फिल्म हल बन्द हुँदा हलिउड फिल्मको समेत विश्वव्यापी कमाइमा ठूलो असर परेको छ । यसको प्रभाव प्रदर्शनको तयारीमा रहेको ठूला फिल्म ‘मुलान’, ‘फास्ट एन्ड फ्युरियस’, ‘नो टाइम टु डाई’ मा देखिने भएको छ ।

कला र शैली

'बर्मा गए भाषासँगै'

- दीपक परियार
बर्मेली नेपाली कवि, साहित्यकार, संस्कृतिकर्मी एवं नागरिक अभियन्तासँग पोखरामा सोमबार गरिएको अन्तरसंवादमा सहभागी । तस्बिर ः दीपक/कान्तिपुर

(पोखरा) - उखानै छ ‘बर्मा गए कर्मसँगै, नेपाल गए कपाल सँगै’ । नेपालीभाषी बर्मेली युवा यो उखान फेर्न उद्यत छन्, बर्मा (म्यान्मार) मा नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमार्फत ।
धनगढीमा भएको विश्व नेपाली साहित्य महोत्सवमा सहभागी भएर बर्मेली नेपालीको टोली सोमबार पोखरा आयो । उनीहरू र्‍यान्डम रिडर्स सोसाइटीले गरेको अन्तरसंवादमा जुटे । बर्मेली कवि, साहित्यकार, संस्कृतिकर्मी र नागरिक अभियन्ताले नेपाली भाषा साहित्यप्रतिको लगाव खुलस्त राखे । भाषा जोगाउन भएका प्रयत्न दुरुस्त सुनाए । परदेशबाट घर फिरेका सन्तानले बाबुआमालाई सुनाएका कहरजस्तै उनीहरू ठाउँठाउँमा पोखिए । साहित्यकार अश्विनी कोइरालासँगको अन्तरसंवादमा उनीहरूले पितृभूमिप्रतिको माया दर्साए ।
झन्डै डेढ सय वर्षअघि धेरै नेपाली विविध कारणले बर्मा प्रबासिए । बर्माका साहित्कार भागवत बस्नेतका अनुसार राणाको छिचोमिचो, शोषण र दुःखले नेपाली बर्मा भासिए । ‘दोस्रो विश्वयुद्धमा भारतीय सेना हुँदै बेलायती सेना भएर पनि बर्मामा धेरै नेपाली पुगे,’ बर्मेली जनजीवनको इतिहास उल्लेख गर्दै उनले भने, ‘व्यापार र तीर्थयात्राको सिलसिलामा पनि नेपाली बर्मा पसे ।’
बर्मामा डेढदेखि २ लाख नेपालीभाषी रहेको तथ्यांक छ । राजा महेन्द्रले नेपालमै बर्मेली टोल बनाएर देश फर्किन आह्वान गरेदेखि उता जाने घटेका छन् । प्रत्येक बर्मेली नेपालीले आफ्नो पुर्खा बसेको ठाउँ हेर्न चाहेको बस्नेत बताउँछन् । नेपाली भाषा, साहित्य र संस्कृति बर्मेली नेपालीबीच नङ र मासुजस्तै गाँसिएको उनी भन्छन् । पितृभूमिप्रतिको मोह उनले कवितामा सुनाए ।
प्रत्येक वर्षामा पहिरो जाने
हामीभित्र पनि एउटा कृष्ण भीर छ
फरक यत्ति हो
तिम्रो डाँडापाखामा पहिरो जान्छ
हाम्रो छातीमा पहिरो जान्छ
बर्माका ९० प्रतिशत बर्मेली नेपालीले नेपाली भाषा बोल्छन् । सैनिक शासनकै बीच नेपाली भाषा मर्न नदिन बर्मेली नेपालीले गरेको संघर्ष भीमलाल पाण्डेले रोचकरूपमा सुनाए । भारतको उडिसाबाट जानेको भाषा लोप हुँदा संस्कृति लोप भएको उनले देखेका छन् । बर्माको राजनीतिक अप्ठेरोमा पनि नेपालीभाषी अभियन्ता ठाकुरप्रसाद गुरागाईंलगायतले आन्दोलन छेडे । नेपाली भाषा, साहित्य र संस्कृति जोगाउन मन्दिरहरूमा लुकाइछिपाई रामायण र महाभारत पुर्‍याए । गुरागाईंले हातैले लेखेर मन्दिरसम्म नेपाल भाषाका किताब पठाए । मठमन्दिरबाट नेपाली भाषाको पढाइ सुरु भयो । नयाँ पुस्तालाई नेपाली भाषा सिकाउन त्यो अभियान सहयोगी बन्यो ।
पाण्डेका अनुसार व्यवस्था केही खुकुलो भएपछि विद्यालयमै नेपाली भाषा पढाउन थालियो । हरेक वर्ष ‘वसन्त बिदाइ’ मा हुने दुईमहिने छुट्टीको उपयोग गर्दै विद्यार्थीलाई नेपाली भाषा पढाउन थालियो । हाल वर्माका २ सय २७ विद्यालयमा नेपाली भाषाको पढाइ हुन्छ । ४ स्थानसम्म नेपाली भाषामा डिप्लोमा पढाइन्छ । ३ वटा ठूला संस्कृत पाठशाला छन् । अहिले त्यहींका बर्मेलीलाई नेपालीभाषीले नेपाली भाषा र गीत सिकाउन थालेको उनले सुनाए ।
साहित्यकार सीमा साँवा गीताका श्लोक कण्ठस्थ सुनाउँछिन् । उनका हजुरबुबा १३ वर्षको छँदा नेपालबाट बर्मा पसेको हो उनको पुर्खा । ५ सयभन्दा बढी नेपाली भाषीको मात्रै घरधुरी भएको बर्मेली सहर मिचिनामा उनी बस्छिन् । नेपाली भाषामा कलम चलाउँछिन् । लिम्बू भाषा पनि धेरथोर बोल्छिन् । बर्माबाट प्रकाशित हुने ऐरावती साहित्यिक पत्रिकाकी सहसम्पादक मधु घर्ती क्षेत्रीले नेपाली सिक्न बुबाको निकै जोड गरेको स्मरण गर्छिन् । नेपाली सिक्न २–३ महिनामा एकपल्ट पुग्ने नेपाली फिल्मको डीभीडी १०/१० पल्टसम्म हेरेको अनुभव उनीसँग छ । ‘बर्मेली नेपाली भाषा शिक्षक राजन ढकालले विद्यार्थीले बुझ्ने गरी नेपाली सिकाउन मिहिनेत गरेको उल्लेख गरे । रिता लामा कार्कीले छोरा र छोरीबीच हुने भेद, जातिप्रथा, संस्कार नेपालमै जस्तो भएको सुनाइन् ।

कला र शैली

थप्पड : एक विद्रोह

- गोकर्ण गौतम

(काठमाडौं) - करिब डेढ सय वर्षअगाडि बेलायती दार्शनिक जोन मिलले भनेका थिए, ‘विवाह कानुनद्वारा अनुमतिप्राप्त दासत्वको एक मात्र रूप हो ।’
मात्रा थोरै होला तर आज पनि विवाह नामक सम्बन्धबाट दासत्व हराएको छैन । हाम्रो सामाजिक संचरनाले पुरुषलाई ज्यादा अधिकार दिएको छ, सोही कारण शिक्षित र आधुनिक भनिएका पुरुष पनि पति बनेपछि पत्नीलाई मनोवैज्ञानिक र व्यावहारिक रूपमा समान ठान्दैनन् । फरक कति मात्र भने पहिले महिला आफूमाथिको थिचोमिचो सहन बाध्य थिए, आज प्रतिवाद गर्ने ल्याकत राख्दै छन् । यही यथार्थको प्रतिविम्ब हो, हिन्दी फिल्म ‘थप्पड’ । यो महिलावादी फिल्म हो तर यसले पुरुषलाई ‘भिलेन’ बनाएको छैन । सिर्फ पुरुषप्रधान सोचमाथि सवाल गरेको छ ।
‘थप्पड’ लाई अनुभव सिन्हाले निर्देशन गरेका हुन् । कथा, पात्र र पात्र बाँचिरहेको समयप्रति सिन्हा संवेदनशील छन् । उनले सिर्जेका दृश्य न अतिरञ्जित लाग्छ, न सतही नै । त्यसैले त पात्र र दर्शकबीच सामीप्यता प्रकट हुन्छ । अभिनेत्री तापसी पन्नु यसपटक पनि प्रभावशाली भूमिकामा छिन् । उनको चरित्रले घरेलु हिंसालाई नयाँ शिराबाट सोच्न प्रेरित गर्छ ।
अमृता (तामसी पन्नु) को पूरै समय पति विक्रम (पवैल गुलाटी) को रेखदेखमा बित्छ । असली पत्नी र गृहणी हुन कुनै कसर बाँकी राख्दिनन् । विक्रमलाई अफिसको कामबाट कहिल्यै फुर्सद हुन्न । दिन रमाइलोसँग बितिरहेका हुन्छन् । एक दिन सामूहिक जमघटका दौरान विक्रमले अमृतालाई एक थप्पड हान्छन् । जब कि अमृताको गल्ती नै हुन्न । अफिसको रिस उनलाई पोखेका हुन्छन् । सामान्य लाग्ने यो एक थप्पडपछि अमृतामा आउने बदलाबमा केन्द्रित छ फिल्म । ‘थप्पड’ को कथामा खास उतारचढाव छैन । न झस्काउने ‘ट्विस्ट’ नै छ । पात्र सरल छन्, दैनिकी सरल र शान्त । एक्सन, कमेडी र रोनाधानावाला मसला छैन । तर पनि यसले दर्शक बाँधिराख्छ । एउटै कारण हो, सिनेमा जीवनसँग नजिक हुनु । हामीले दैनिक जीवनमा भोगिराखेको तर नजरअन्दाज गरेका भोगाइ सूक्ष्म शैलीमा बुनिएको छ । जसले हामीलाई आफ्नै सोच र व्यवहारमाथि पुनर्विचार गर्न बाध्य पार्छ । अर्थात्, ‘थप्पड’ मा केही नभनेझैं गरेर निर्देशक सिन्हाले धेरै कुरा भनेका छन् । पुरुषभित्रको अहंकारलाई उदांगो पारेका छन् ।
विषयवस्तुअनुरूप फरक पृष्ठभूमिका पात्र चयन गरिएको छ । फिल्ममा अमृता एक थप्पडपछि स्वाभिमानको खोजमा लाग्छिन् तर उनको घरकी सहयोगी महिला पतिबाट रोजै पिटाइ खान्छिन् तर पनि कहिल्यै प्रतिरोध गर्दिनन्/गर्न सक्दिनन् । मिठो सम्बन्ध नभएपछि अमृताकी सासु पतिबाट अलग्गै कान्छो छोरासँग बस्छिन् । उनको चरित्रले पतिको हैकमको ‘मौन विरोध’ गरेको छ । छोराछोरी र पतिको सेवामै मस्त छिन्, अमृताकी आमा । उनलाई लाग्छ, परिवार टिकाउन महिलाले आफूमाथिको विभेद थाहा नपाएझैं गर्नुपर्छ । कथा कसिलो बनाउन अमृताकी छिमेकी शिवानी (दिया मिर्जा) को पनि भूमिका छ, जो सम्बन्धविच्छेद गरेर सानी छोरीसँग खुसीसाथ जीवन बिताइरहेकी छन् । अनि, महिला अधिकारका लागि लड्ने वकिल, जो आफैंचाहिँ पतिको दुर्व्यहारलाई सहिरहेकी हुन्छिन् । यस्ता पात्रमार्फत महिलामाथिको विभेद र हिंसालाई अनेक कोणबाट पटाक्षेप गरिएको छ । हरेक पात्र हाम्रै वरपर देखेझैं लाग्छ ।
महिला सशक्तीकरणको वकालत गर्ने प्रायः सिनेमामा पुरुषलाई एकोहोरो नकारात्मक र हिंस्रक देखाइएको हुन्छ । ‘थप्पड’ ले यो मान्यतालाई अनुशरण त गरेको छैन नै, बरु पुरुषमा अहंकार र मपाइँत्व जन्मनुमा यही सामाजिक संरचना र सोचलाई कारक मानेको छ ।
पत्नीलाई थप्पड हानेकामा विक्रममा हिनताबोध हुन्न, क्षमा माग्दैन । अमृतालाई माया त गर्छ तर आफ्नो हर्कतले अमृताको अन्तरमनमा परेको चोटको ख्यालै गर्दैन किनभने विक्रम यस्तो माहोलमा हुर्कियो, जहाँ पत्नीलाई नाथे एक थप्पड हान्नु पश्चताप र लज्जाबोधको विषय होइन । हरेक पुरुषमा व्याप्त यही सोचमाथि निर्देशकले तिखो प्रहार गरेका छन्, अमृतामार्फत ।
अमृता र विक्रमको प्रेम दर्साउन अनि अन्य पात्रलाई स्थापित गर्न पर्याप्त समय खर्चिएको छ । यसले सुरुवातमा कथा अघि बढ्दै–नबढेको भान हुन्छ । उस्तै आशय भएका दृश्यलाई महत्त्व दिँदा पक्कै पनि फिल्मको गति धीमा भएको छ । थप्पड हानिसकेपछि पनि अपेक्षाकृत गति लिन्न तर अमृताको सोचाइ र व्यवहारमा आउने परिवर्तनले दर्शक तान्दै लान्छ । पत्नी बन्नकै लागि क्षमता हुँदाहुँदै आफ्नो सपनालाई बलिदानी दिएका तर पनि आत्मसम्मानका साथ बाँच्न नपाएका महिलाले अमृतामा पूरापुर आफूमा पाउँछन् । सासुसँगको अमृताको सम्बन्धमार्फत निर्देशकले सुझबुझ भएका दुई फरक पुस्ताको मनोविज्ञान प्रस्ट्याउने प्रयास गरिएको छ ।
दाम्पत्व जीवन टिकाउने र परिवारको इज्जत जोगाउने नाममा महिला हिंसाको प्रतिवाद गर्दैनन्, एकपछि अर्को सम्झौता गरिरहेका हुन्छन्, जसले उनीहरूलाई वैयक्तिक रूपमा दिनानुदिन शिथिल बनाइरहेको हुन्छ तर विभेदले सीमा नाघेपछि एउटी महिलामा कुन तहको आक्रोश जन्मन्छ ? ‘थप्पड’ ले जवाफ दिन्छ ।
यसले पुरुषको अहं र आजका नारीमा बढ्दो विद्रोही भावको वस्तुगत चित्रण गरेको छ । एकअर्काप्रतिको सम्मानको सन्तुलन नमिल्दा उब्जने समस्या सतहमा ल्याएको छ तर आम सिनेमाले झैं समाधानको तौरतरिकाचाहिँ दिँदैन । हरेक पात्र र उनीहरूको जीवन दर्शनलाई दर्शकले आफूअनुकूल व्याख्या गर्न सक्छन् । ‘थप्पड’ को सुन्दर पक्ष हो यो ।
तापसी पन्नुको चरित्र प्रेरणादायी र अभिनय विश्वसनीय छ । हिन्दी फिल्ममा नारी चरित्र र हिरोइनप्रतिको आमधारणा बदल्न तापसी अग्रसर छिन् । घरेलु हिंसाको डटेर सामना गर्ने अमृता त्यही अभियानको निरन्तरताझैं लाग्छ । डेब्यु अभिनेता पवैल गुलाटीले दरिलो सम्भावना देखाएका छन् । प्रेम र घमण्ड मिसिएको चरित्रमा उनी निपुर्ण छन् । दिया मिर्जा, कुमुद मिश्रा, रत्ना पाठक शाहजस्ता सहायक कलाकार पनि जीवन्त लाग्छन् । अनि, बलिउडमा जुन कोटिका फिल्मको बाहुल्य छ, त्यो हुलमा ‘थप्पड’ आफैंमा विद्रोह हो । र, यो विद्रोहलाई निर्देशक सिन्हाले तार्किक र प्रभावशाली बनाउनु थप प्रशंसनीय छ । ‘मुल्क’ र ‘आर्टिकल १५’ बाट उनले निर्माण गरेको सामाजिक चेतको विरासतलाई यसले पछ्याएको छ ।
तपाईं सिनेमा कोरा मनोरञ्जन मात्र होइन, यसमा समाज हुनुपर्छ र यसले सवाल खडा गर्नुपर्छ भन्ने ठान्नुहुन्छ भने ‘थप्पड’ तपाईंका लागि हो ।

फिल्म समीक्षा


थप्पड
लेखक/निर्देशक ः अनुभव सिन्हा
कलाकार ः तापसी पन्नु, पवैल गुलाटी, कुमुद मिश्रा, दिया मिर्जा, रत्ना पाठक शाह आदि ।

 

कला र शैली

प्लास्टिक सर्जरीको तनाव

- कान्तिपुर संवाददाता

 

खासगरी सेलिब्रेटीमाझ सौदर्न्यतालाई लिएर प्लास्टिक सर्जरी निकै चर्चित छ । कृत्रिम उपायबाट शारीरिक बनावट नै फेरबदल गरी सुन्दर देखाउन अधिकांश नायिकाहरू प्लास्टिक सर्जरीको सहारा लिइरहेका हुन्छन् । तर यसलाई खुलेआम स्वीकार गर्न भने हिच्किचाउने गर्छन् । तर बलिउड नायिका श्रुति हसनले भने आफूले प्लास्टिक सर्जरी गरेको खुलेआम स्वीकार गरेर अन्य नायिकाहरूलाई चुनौती थपिदिएकी छन् ।
बलिउडमा मात्रै प्लास्टिक सर्जरी गरेको दाबीसहित कैयौं नायिकाहरूको नाम आइसकेको छ । यस्तोमा बलिउडदेखि हलिउडसम्म आफ्नो चर्चा फैलाउन सफल नायिका प्रियंका चोपडा अगाडि छन् । उनले प्लास्टिक सर्जरीमार्फत अनुहारको बनावट नै बदलेको दाबी गरिन्छ । तर चोपडाले भने उक्त कुरालाई स्वीकार गरेकी भने छैनन् । खासगरी नायिका सर्जरीको सहारामा नाकको कोण ठीक पार्नेदेखि मुस्कानलाई सच्याउने बढिरहेको दाबी आउने गर्छ । सन् २०१८ मा ‘धडक’ मार्फत बलिउडमा डेब्यु गरेकी श्रीदेवी पुत्री जान्हवी कपुरले पनि लिप फिलर्समार्फत ओठको आकार बढाएको बताइन्छ भने अर्की नायिका अनुष्का शर्माको प्लास्टिक सर्जरीकै कारण बिग्रिएको ओठले निकै चर्चा पाएको थियो । त्यसो त बलिउडमा सुन्दर तथा फिट नायिकाका रूपमा चिनिने शिल्पा सेट्टीलाई समेत प्लास्टिक सर्जरी गरेको आरोप लाग्ने गर्छ । तर स्वयं सेट्टीले भने आफूले त्यस्तो कुनै सर्जरी नगरेको र यसको पक्षमा पनि नरहेको जिकिर गर्दै आइरहेकी छन् ।
आयशा टाकियाले पनि प्लास्टिक सर्जरी गरी आफ्नो रूप बदलेको चर्चा निकै चल्यो । उनको फेरिएको नयाँ मुहारलाई धेरैले रुचाएनन् र भने, ‘बरु पहिलेकै आयशा धेरै राम्री ।’ मोडलबाट नायिका भएकी गौहार खानलाई पनि ओठ मिलाएको आरोप लाग्यो । सर्जरीपछि आफ्नो फेरिएको रूपमा चित्त नबुझेकै कारण खान मिडिया फेस गर्न डराइरहेको समेत टिप्पणी चल्यो । यतिसम्म कि उनले यसैका कारण आफ्नो रियालिटी टीभी सो ‘खान सिस्टर्स’ को सुटिङ नै रद्द गरिदिएको चर्चा पनि चल्यो ।
यसरी सुन्दर देखिन प्लास्टिक सर्जरीको सहारा लिने बलिउड नायिकाहरूमा करिना कपुरदेखि कंगना रनावत, मिनिशा लाम्बा, राखी सावन्तलगायतको नाम अग्रपंक्तिमा छ । श्रुति हसनले आफूले नाकको प्लास्टिक सर्जरी गरेको जानकारी दिँदै भनेकी छन्, ‘हो मैले सर्जरी गरेकी हुँ । सुन्दरता बढाउन हैन । मेरो नाक सामान्य नै थियो । दुई पटक चोट लागेको कारण नाक नराम्रो देखिएपछि सर्जरी गराएकी हुँ । – एजेन्सी

 

कला र शैली

कुडा कर्णालीमा राउटे

- चाँदनी कठायत

(वीरेन्द्रनगर) - कर्णाली प्रदेशमा १० जिल्ला छन् । बुधबार सुर्खेतको बुलबुले उद्यानमा भने ‘कर्णालीको ११ औं जिल्ला’ बारे बहस भयो । त्यो जिल्ला थियो– राउटे समुदाय । नागरिकता नभएका र कर्णाली प्रदेशका विभिन्न ठाउँमा घुमन्ते जीवन बिताउने उक्त समुदायका महामुखिया महिनबहादुर शाही निकै उत्साहका साथ सहभागी भए । ‘मकन (मलाई) राउटे बनाएर लेख्दिनुपर्‍यो भनेर हामी भन्न सक्दैन,’ कुराकानीको सुरुमै उनले भने, ‘सप्पैले सहरमा बस्न मन पराउँदैन, म एक्लै क्या गर्ने ?’
‘कुडा कर्णालीका’ मूलनारासहित वीरेन्द्रनगरमा आयोजित कर्णाली उत्सवको तेस्रो दिन राउटेबारे बहस भएको थियो । राउटेहरू अहिले वीरेन्द्रनगर–१३ को करेखोला र बराहतालमा बस्दै आएका छन् । उनीहरूलाई दैलेखको गुराँस गाउँपालिकाले २०७५ असारमा फोटोसहितको परिचयपत्र दिएको थियो । ‘गुराँस त हाम्रो बाबुमताली जस्तो भैगो,’ महामुखिया शाही भन्छन्, ‘हामी जाँ गए पनि हामीलाई भत्ता दिएको छ, चामल पठाइदिन्छ ।’ चिसो मौसम सुरु भएपछि तल झरेको भन्दै पुनः गुराँसमै गएर बस्ने उनले बताए ।
राउटे समुदायको यो सेसन निकै रोचक बन्यो । एक सहभागीले सोधे, ‘तपाईँहरू रक्सी किन खानुहुन्छ ? महामुखिया शाहीको जवाफमा निकै दम थियो । उनले भने, ‘रक्सी भन्या राउटेलाई थाहै हुन्थेन, नेपाली जनताले खान सिकाएको माल छोड्न सकिएन, कोही त पापी रैछन् ।’ उनले सहरका मानिसले नराम्रो काम सिकाएको बताए । ‘हामीले रक्सी खान्छौं मात्रै, बनाउँदैनौँ,’ उनले भने, ‘सहरका मान्छे रक्सी आफै बनाएर खान्छन्, हामीलाई पनि नराम्रो सिकाए ।’
कार्यक्रममा गुराँस गाउँपालिका अध्यक्ष खेमराज वलीले राउटेको शिक्षा, स्वास्थ्य, रोजगारका लागि विभिन्न कामहरू भइरहेको बताए । उनले अहिले राउटेका १४ जना बालबालिका पढ्न पनि थालेको जनाए । उनका अनुसार उनका अनुसार हाल राउटको संख्या १ सय ५१ जना छ । राउटे समुदायको जीवन सहजीकरणमा सक्रिय सत्यदेवी अधिकारीले राउटेहरूमा चेतनाको स्तर वृद्धि गर्न सके चाँडै समाजमा घुलमिल गराउन सकिने बताइन् । राउटेहरूको चिनारी, सीप नमेटिने गरी उनीहरूको बस्ती विकासतर्फ जोड दिनुपर्ने उनको भनाइ छ ।
‘कालापहाडका तोडा’ सेसनमा सहभागी कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले कर्णालीवासीको लागि कालापहाड तोडा (धनको थैली) नै भएको बताए । उनले कर्णालीमै तोडा भएको बताउँदै प्रदेश सरकारले रोजगारी, युवा परिचालनसम्बन्धी योजना बनाएको बताए । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीको भनाइ थियो, ‘कालापहाड नजाँदा भोकभोकै बस्नुपर्ने अवस्था छ, त्यसको लागि सबै तहका सरकारले प्रभावकारी नीति बनाउनुपर्छ ।’ प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगारविज्ञ युवराज बस्नेतले युवालाई स्वदेशमै श्रमप्रति सम्मान गर्ने वातावरणको खाँचो औंल्याए ।
सुर्खेतस्थित ऋतिक फाउण्डेसनले उत्सव गरेको हो । आयोजक समितिका संयोजक कमल लम्सालले सार्वजनिक बहस र विमर्श गरी समाजलाई मार्गनिर्देश गर्नुका साथै लोकतन्त्रलाई समेत सबल बनाउने उद्देश्यसाथ उत्सव आयोजना गरिएको बताए ।

Page 10
समाचार

पाँच हजार मिटरमा हाडफोरको गुँड

७ हजार मिटरको हिमाली क्षेत्रसम्म यो गिद्ध उडेर पुगे पनि यसअघि ४ हजार ६ सय मिटर सम्ममा मात्रै गुँड पाइएको थियो
- अब्दुल्लाह मियाँ
हालै भेटिएको हाडफोर गिद्धको गुँड ।

(काठमाडौं) - समुद्री सतहदेखि पाँच हजार मिटर उचाइको अन्नपूर्ण संरक्षण क्षेत्रमा हाडफोर गिद्धले गुँड बनाएर बसेको पत्ता लागेको छ । युरोपेली मुलुकहरूमा गिद्ध संरक्षणमा काम गर्ने संस्था ‘भल्चर कन्जरभेसन फाउन्डेसन’ का अनुसन्धानकर्ता फ्रान्सिस्को मोन्टोरो गार्सियाले माथिल्लो मुस्ताङमा उक्त प्रजातिको गुँड फेला पारेका हुन् । नेपालमा गिद्ध संरक्षण र अनुसन्धानमा सक्रिय पन्छी संरक्षण संघ (बीसीएन) का विज्ञ कृष्णप्रसाद भुसालका अनुसार यति उचाइमा यो प्रजातिको गुँड भेटिएको पहिलो पटक हो । यो प्रजातिको गिद्धले एउटा अन्डा कोरल्छ ।
करिब सात हजार मिटर उचाइको हिमाली क्षेत्रसम्म यो प्रजातिका गिद्ध उडेर पुगेको पाइएको छ । गुँड भने यसअघि हिमालय नेचरका निर्देशक तुलसी सुवेदीको अनुसन्धानले ४ हजार ६ सय मिटर उचाइमा पत्ता लगाएको थियो ।
फ्रान्सिस्कोले गत नोभेम्बरमा अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए । त्यसक्रममा उनले हाडफोर गिद्धको गुँड र गिद्धको तस्बिरसमेत कैद गरेका छन् । गिद्धसम्बन्धी काम गर्ने संस्था र अनुसन्धानकर्तासँग राय लिएर उनले यो प्रजातिको गिद्धको गुँडबारे पुष्टि गरेका हुन् ।
माथिल्लो मुस्ताङ नेपालमा हिमाली र हाडफोर गिद्धको उच्च घनत्व क्षेत्र हो । हाडफोर गिद्धहरू गुफा, ओडार, छाडिएका गुम्बा र प्राचीन मानव बस्तीमा गुँड बनाएर बस्छन् । हाडफोरले मुख्यतया हड्डी मात्र खान्छ । दाह्री हुने भएकाले यो प्रजातिलाई चराविज्ञहरू ‘दाह्री गिद्ध’ पनि भन्छन् । हाडफोर प्रजातिका गिद्धमा विद्यावारिधि गरेका सुवेदीका अनुसार यो प्रजातिका गिद्ध बासस्थानमा आहाराको कमीका कारण संकटमा पर्दै गएका छन् । जलवायु परिवर्तनका कारण यिनको बासस्थान खुम्चिँदै गएको सुवेदीले आफ्नो अनुसन्धानमा उल्लेख गरेका छन् । उनले गिद्धको ढाडमा स्याटेलाइट ट्रान्समिटर जडान गरेर तिनको गतिविधि अध्ययन गरेका थिए । अध्ययनले ६० हजार वर्ग किलोमिटरभन्दा बढी पहाडी र हिमाली क्षेत्रमा विचरण गरेको नतिजा दिएको थियो ।
बीसीएनको सन् २०१२ को अध्ययनअनुसार माथिल्लो मुस्ताङमा ४ हजार २ सय मिटर उचाइसम्म यो प्रजातिको गिद्ध रेकर्ड भएको थियो । बीसीएनको अध्ययनअनुसार यो प्रजातिको संख्या ५ सयभन्दा कम छ । मुस्ताङमा मृत्यु संस्कारअनुसार शव गिद्धलाई खुवाउने चलन प्राचीनकालदेखि चलिरहेको छ । लामा गुरुले तय गरेको समय र स्थानमा शव लगेर टुक्राटुक्रा पारी तान्त्रिक मन्त्र उच्चारण गर्दै गिद्धलाई खुवाउने चलन छ ।

Page 11
अर्थ वाणिज्य

स्याटेलाइट र सेक्युरिटी प्रेस अब प्रतिस्पर्धामार्फत

- विजय तिमल्सिना
अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएका युवराज खतिवडालाई बुधबार सिंहदरबारस्थित मन्त्रालयमा स्वागत गरिँदै ।तस्बिर ः दीपक केसी/कान्तिपुर

(काठमाडौं) - बिनाप्रतिस्पर्धा जी टु जी मार्फत सरकारले खरिद गर्ने तयारी गरेको सेक्युरिटी प्रेस र स्याटेलाइटजस्ता महँगा परियोजना अब प्रतिस्पर्धामार्फत अघि बढ्ने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् ।
‘पूर्वाधार निर्माण सम्बन्धी जति पनि खरिद छन्, ती सबै पूर्ण प्रतिस्पर्धाको आधारबाट पारदर्शी ढंगले हुन्छ,’ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री खतिवडाले भने, ‘चाहे त्यो सेक्युरिटी प्रेस होस् वा स्याटेलाइट ।’
उनले असल मनसायले खरिद गर्दा पनि बारम्बार विवादमा पर्ने अनुभवले देखाएको बताए । ‘स्पष्ट विधि अपनाएर प्रतिस्पर्धी र पारदर्शी ढंगले पूर्वाधार निर्माणको कामलाई अघि बढायौं भने त्यो सबैलाई स्वीकार्य हुन्छ र हामी पनि विवादरहित हुन्छौं,’ उनले भने । उक्त मन्त्रालयले जी टुजी मार्फत खरिद गर्ने गरी अघि बढाएको सेक्युरिटी प्रेस र स्याटेलाइट राख्ने परियोजना विवादित छ ।
सेक्युरिटी प्रेस खरिदको प्रक्रियामा तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले घूस बार्गेनिङ
गरेको अडियो सार्वजनिक भइसकेपछि उनले पदबाट राजीनामा दिएका थिए । बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार मन्त्रालयको जिम्मेवारी खतिवडाले सम्हालेका हुन् । राष्ट्रिय सभामा म्याद सकिएपछि मंगलबार पदबाट राजीनामा दिएका खतिवडा बुधबार पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री पदमा नियुक्त भएका छन् ।
फ्रान्सेली वा जर्मन कम्पनीबाट सेक्युरिटी प्रेस खरिदका लागि मन्त्रिपरिषद्ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइसकेको छ । कात्तिक २० गतेको मन्त्रिपरिषद्ले ती कम्पनीबाट प्राप्त प्रस्तावको मूल्यांकन
गरी सम्झौता गर्न सहमति दिएको थियो ।
मन्त्री खतिवडाका अनुसार अब यो प्रक्रिया स्थगित हुनेछ ।
यसअघि मन्त्रिपरिषद्को सहमतिलगत्तै मन्त्रालयले सहसचिव राधिका अर्यालको संयोजकत्वमा प्राविधिक समिति गठन गरी दुवै कम्पनीबाट प्राप्त प्रस्तावको अध्ययन गरेको थियो ।
उक्त समितिले आफ्नो प्रतिवेदन मन्त्रालयमा पेस गरिसकेको छ । दुई देशबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट प्रस्ताव बुझाउनेसँग सेक्युरिटी प्रेस खरिद गर्ने भनिए पनि फ्रान्सेली कम्पनी आईएन ग्रुपसँग प्रेस खरिद गर्ने गरी मन्त्रालयले तयारी गरेको थियो ।
फ्रान्सेली कम्पनी आईएन ग्रुपको
स्थानीय एजेन्ट यति होल्डिङ्स रहेको स्रोतले जानकारी दिएको छ । बिनाअध्ययन र
प्रतिस्पर्धा सेक्युरिटी प्रेस खरिद गर्ने सरकारको निर्णय अपारदर्शी भएको भन्दै संसद्को
लेखा समितिले समेत छानबिन अघि
बढाएको थियो । समितिले फागुन ११ मा सेक्युरिटी प्रेस खरिद प्रक्रिया तत्काल
अघि नबढाउन सरकारलाई निर्देशन दिएको थियो ।

त्यसको अघिल्लो दिन सेक्युरिटी प्रेस खरिद प्रक्रियाको क्रममा स्थानीय एजेन्ट विजय मिश्रसँग कमिसनको बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए । फ्रान्सेली र जर्मन कम्पनीले मन्त्रालयमा पेस गरेको आर्थिक प्रस्तावमा क्रमशः २३ र २२ अर्ब लागत प्रस्ताव गरिएको छ । कान्तिपुरलाई प्राप्त कागजपत्रअनुसार दुवै कम्पनीले प्रस्ताव गरेको रकम करबाहेक र कागज र कार्डमा आधारित छपाइ सुविधाका लागि मात्रै हो । नोटसमेत छपाइ गर्ने प्रविधि राख्दा महँगो पर्ने भन्दै सरकारले तत्कालका लागि नोटबाहेकको सुविधा भएको प्रेस स्थापना गर्न लागेको हो ।
तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा गत वर्ष युरोप भ्रमणमा गएको बेला आईएन ग्रुपसँग सेक्युरिटी प्रेस स्थापनाका लागि समझदारी भएको थियो । आईएन ग्रुपका प्रतिनिधि र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । भ्रमणका क्रममा फ्रान्सेली कम्पनी थ्यालस एलेनियासँग जी टु जीमार्फत स्याटेलाइट खरिदका लागि पनि सहमति भएको थियो । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र थ्यालस एलेनियाका प्रतिनिधिले समझदारीमा हस्ताक्षर गरेका थिए ।
३०–३० अर्ब लागत अनुमान गरिएका दुवै परियोजना बिनाप्रतिस्पर्धा जी टु जीमार्फत खरिद गर्न लागिएको भन्दै देशभित्र चर्को विरोध भएको थियो । बुधबार पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका निकायले व्यावसायिक रूपमा काम गर्दा कुनै हस्तक्षेप नगर्ने बताए । सूचना प्रविधि क्षेत्रमा आवश्यक परे राज्यले भूमिका खेल्ने र निजी क्षेत्रले गरिरहेको कुरामा राज्यले प्रतिस्पर्धा गर्नु नपर्ने मन्त्री खतिवडाको धारणा थियो ।

ॅसमानताको योद्धा हुँ’
बुधबार पुनः मन्त्री नियुक्त भएका खतिवडाले अर्थमन्त्रीका रूपमा पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएलगत्तै उनले अर्थ मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहण गरेलगत्तै प्रतिक्रिया दिँदै मन्त्री खतिवडाले आफूलाई गरिबी र अभावविरुद्ध लड्ने योद्धाको संज्ञा दिए । ‘विकास, सामाजिक न्याय, समानताको लडाइँ लड्ने म योद्धा हुँ,’ उनले भने, ‘कमान्डरले फर्की नभनेसम्म योद्धा लडिरहन्छ ।’

 

अर्थ वाणिज्य

‘प्रेससँग सम्बन्ध सुधार गर्नु छ’

- कान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले मन्त्रालयले प्रेससँगको सम्बन्ध सुधार्न आवश्यक रहेको बताएका छन् । उनले प्रेससँगको सम्बन्ध स्वस्थ र सुमधुर बनाउन सबैको साथ आवश्यक रहेको जनाए । ‘मन्त्रालयसँग सम्बन्धित केही कुरामा सुधार गरेर जानुपर्ने छ,’ उनले भने, ‘खासगरी प्रेससँगको सम्बन्ध ।’ घूस बार्गेनिङ प्रकरणमा राजीनामा दिएका पूर्वमन्त्री बाँस्कोटा प्रेसप्रति तथा समसामयिक विषयमा कडा टिप्पणी गर्थे । मन्त्री खतिवडाले विगतको उक्त विषय नकोट्याई अब सम्बन्ध सुधारको आवश्यकता रहेको औंल्याए । उनले मन्त्रालयले कानुन, बोली, व्यवहारमार्फत प्रेससँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए ।

अर्थ वाणिज्य

५ हजार भूकम्पपीडित जोखिमयुक्त घरमै

- विमल खतिवडा
नुवाकोट बेलकोट गढीनगरपालिका–५ स्थित स्थानीयको घर । भूकम्पमा चर्किएको यो घरमा अहिले पनि पीडित बसिरहेका छन् ।तस्बिर ः कृष्ण थापा/कान्तिपुर

(काठमाडौं) - भूकम्प गएको पाँच वर्ष बित्न लाग्दा पाँच हजार भूकम्पपीडित अझै जोखिमयुक्त घरमा बसिरहेको पाइएको छ । ठूलो परिवार भएकाहरू एककोठे घरमा नअटेपछि पुरानै चर्किएका घर मर्मतसम्भार गरेर बसेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत पाएको ३ लाख रुपैयाँले एककोठे घर बनाएकाहरू प्रायः यस्ता घरमा बस्न बाध्य छन् । ‘चर्किएका घरलाई टालटुल गरेर बस्नेहरू छन्,’ प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले भने, ‘यस्ता घरको संख्या करिब पाँच हजार रहेको अनुमान छ ।’ भूकम्पपीडितलाई भत्किन लागेका घरमा नबस्न बारम्बार जानकारी गराइएको उनले बताए ।
‘बस्नु आफ्नै लागि खतरा हो भन्ने कुरा स्थानीय सरकारमार्फत जानकारी गराएका छौं,’ उनले भने, ‘निजी आवास बनाउन दिने अधिकार स्थानीय सरकारकै हो, उनीहरूकै जिम्मामा हामीले छाडेका हौं ।’ एउटै परिवारमा पाँच जनाभन्दा बढी भएकाहरू एककोठे घरमा नअटेपछि चर्किएका घरमा बसिरहेको उनको भनाइ छ । उनीहरूले मापदण्ड पुर्‍याउन एककोठे घर बनाए पनि पुरानै घरलाई लिपपोत गरी बसेका छन् । वास्तविकता एकातिर र प्रक्रियामा जाने कुरा अर्कोतिर हुँदा समस्या भएको हो । ‘प्राधिकरणको नियम पूरा गराउन मात्र घर भत्काएको देखाए,’
उनले भने, ‘व्यवहारमा लागू भएन, अहिले तिनै पुराना घरमा बस्नेहरू धेरै छन् ।’
स्थानीय तहले घर भत्किएको र नयाँ घर आवश्यक हो भने ३ लाख रुपैयाँ लिन सिफारिस गर्छ । कतिपय अवस्थामा स्थानीय सरकारले नहेरी सिफारिस गरिदिँदा पनि समस्या भएको हो । ‘भूकम्प प्रभावित सबै जिल्लामा यस्तो समस्या छ,’ श्रेष्ठले भने, ‘यसबारे स्थानीय तहलाई भनिरहेका छौं, उनीहरूले सिफारिस गरेर पठाएपछि मात्र हामीले अनुदान सम्झौता गर्ने हो ।’
प्राधिकरणले अहिले जीर्ण घरमा बस्न नहुने भन्दै जनचेतना जगाउने काम गरिरहेको बताएको छ । नक्कली लाभग्राहीले घर भएर पनि ३ लाख लिनकै लागि एककोठे घर बनाएका छन् । उनीहरूले पुराना घर भत्काएका छैनन् । यसबारे प्राधिकरण र स्थानीय सरकारबाट कुनै सर्भे गरिएको छैन । जोखिमयुक्त घरमा बस्नेलाई सुरक्षित घरमा बसाउनेबारे कुनै पहल भएको छैन । परिवारको संख्या धेरै भएकालाई सरकारमार्फत बनाइएको एककोठे घर उपयुक्त नहुँदा यस्तो समस्या आएको हो । ‘यस विषयमा स्थानीय तह उत्तरदायी नबनेको हो कि ?’ श्रेष्ठले भने, ‘यसमा प्राधिकरणले ट्र्याक गरेर सम्भव छैन, ट्र्याक गर्ने भनेको स्थानीय तहले नै हो ।’
प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले सरकारले दिएको तीन लाख रुपैयाँले मात्र घर बनाउँदा समस्या भएको बताए । ‘कतिपय व्यक्तिले सरकारले दिएको अनुदानमा आफूले थपेर बनाउनु पर्छ भन्दा पनि त्यति रकमले मात्र बनाउनु पर्छ भन्ने बुझाइले केही ठाउँमा समस्या भएको छ,’ उनले भने, ‘जसले गर्दा सानो घरमा परिवार नअट्ने समस्या आएको छ ।’

चैत मसान्तसम्म पहिलो किस्ता बुझिसक्नुपर्ने
कार्यकारी समितिको मंगलबार बसेको बैठकले चैत मसान्तसम्म लाभग्राहीले पहिलो किस्ता लिई सक्नुपर्ने निर्णय गरेको छ । ‘धेरै ठाउँबाट माग आइरहेकाले केही समय दिने भन्ने निर्णय भएको छ,’ सह–प्रवक्ता घिमिरेले भने, ‘समितिको बैठकबाट चैत मसान्तसम्म अनुदान सम्झौता गरेर पहिलो किस्ता लिइसक्नुपर्ने निर्णय भएको छ ।’

उनका अनुसार दोस्रो किस्ता असार र तेस्रो किस्ता मंसिरसम्म लिइसक्नु पर्नेछ । ‘मंसिरसम्म पुनर्निर्माणको काम टुंग्याउने भन्ने हो,’ उनले भने, ‘यो समयसीमापछि रकम लगेर पनि घर नबनाउनेबाट रकम फिर्ता गराउन थाल्नेछौं ।’ पछिल्लो तथ्यांकअनुसार रकम लिएर घर नबनाउनेको संख्या १ लाख ३५ हजार १ सय ५० छ । उनीहरूले अहिलेसम्म दोस्रो किस्ता बुझेका छैनन् । पहिलो किस्ताबापत ५० हजार पाउने नियम छ । ‘कतिपय सम्झौता गर्नै नआउने छन् त कतिले पहिलो किस्ता लिएर त्यत्तिकै बसिरहेका छन्,’ कार्यकारी सदस्य श्रेष्ठले भने, ‘अब यो सम्झौता खारेज हुन्छ, सूचना जारी गरेर नै पैसा फिर्ता गर्न आग्रह गर्छौं, नगरे सरकारी बाँकीसरह असुल गर्छौं ।’ त्यसका लागि रकम लगेर घर नबनाएकालाई फिर्ता गर्ने समय तोकिने उनले बताए ।
‘कुन स्थानीय तहमा रकम लगेर घर नबनाउनेको संख्या छ, सबै टुंगो लगाएर फिर्ता प्रक्रिया सुरु गरिनेछ,’ उनले भने, ‘मंगलबार कार्य समितिको बैठक बस्दै छ, त्यहाँ पनि यस विषयमा छलफल हुनेछ ।’ कुल लाभग्राहीको संख्या ८ लाख २७ हजार ५ सय २७ छ, जसमा ७ लाख ७८ हजार २ सय ४८ जनाले मात्र अनुदान सम्झौता गरेका छन् । ४९ हजार २ सय ७९ ले अहिलेसम्म अनुदान सम्झौता गरेका छैनन् । तेस्रो किस्ता लग्ने ६८ प्रतिशतले घर बनाइसकेका छन् । ‘आर्थिक वर्षको अन्त्यसम्म ८५ प्रतिशत निजी आवास सम्पन्न गरिसक्ने लक्ष्य छ,’ उनले भने । उनका अनुसार एककोठे घर बनाएकालाई थप कोठा थप्ने गरी प्राविधिक रूपमा छलफल गरिनेछ ।

अर्थ वाणिज्य

कोरोना जोखिमयुक्त देशलाई १३ अर्ब

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– विश्व बैंक समूहले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिममा रहेका मुलुकहरूलाई करिब १३ अर्ब रुपैयाँ सहयोग गर्ने जनाएको छ । विश्व बैंक समूहले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उक्त रकम ती मुलुकहरूको स्वास्थ्य र आर्थिक क्षेत्रमा खर्च गरिनेछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिले विश्वका ६० भन्दा बढी मुलुक कोरोना भाइरस संक्रमणको जोखिममा छन् । विकासोन्मुख मुलुकहरूको स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन उक्त सहयोग गरिएको हो । विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले कोरोना भाइरसबाट बच्न विकासोन्मुख मुलुकहरूलाई छिटो र सहज रूपमा सहयोग गर्न चाहेको बताएका छन् । ‘यो सहयोगमार्फत आपतकालीन आर्थिक सहयोग, नीति सल्लाह, प्राविधिक सहयोग तथा संकटबाट बच्न विज्ञका रूपमा सल्लाह पनि दिने हो,’ उनले भने । विश्व बैंक समूहको उक्त सहयोग प्राप्त गर्ने मुलुकमा नेपाल पनि पर्छ । नेपाललाई यसअघि नै कोरोना भाइरसको उच्च जोखिममा रहेको मुलुकका रूपमा उल्लेख गरिएको छ ।
यसअघि अमेरिकी सरकारले कोभिड–१९ को जोखिममा रहेका नेपालसहित विश्वका २५ देशहरूमा भाइरसबाट बच्न पूर्वतयारी र रोकथामका लागि करिब ३ करोड ७० लाख अमेरिकी डलर दिने वाचा गरेको थियो । अमेरिकी सरकारले इमर्जेन्सी रिजर्भ फन्डमार्फत उक्त बजेट छुट्याउन लागेको हो । उक्त रकम अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (यूएसएआईडी) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मार्फत खर्च गरिने उल्लेख छ ।

 

Page 12
अर्थ वाणिज्य

जलविद्युत् आयोजनाद्वारा खोलै सुक्ने गरी पानी उपयोग

- आनन्द गौतम
जलविद्युत् आयोजनाले पानी नछोडेपछि सुकेको पाँचथरको फिदिम र हिलिहाङ गाउँपालिका सीमा क्षेत्रको हेवा खोला ।तस्बिर ः आनन्द/कान्तिपुर

(पाँचथर) - जलविद्युत् आयोजनाले नियमअनुसार पानी नछाडेपछि पाँचथर फिदिमको हेवा खोला सुकेको छ । न्यूनतम १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने कानुनी प्रावधान भए पनि आयोजनाले सबै पानी आफैं प्रयोग गरेपछि खोला सुकेको हो ।
गत मंसिरदेखि नै यो खोलामा पानी बग्न छोडेको छ । फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना छुट्याएर बगेको खोलामा पानी नहुँदा यहाँका बासिन्दालाई दाहसंस्कारमा पनि समस्या भएको छ ।
हेवा र फेमेखोलाको पानी विद्युत् उत्पादनमा लगाइएको छ । माउन्टेन हाइड्रो पावर कम्पनीको तल्लो हेवा जलविद्युत् आयोजनाले खोलै सुकाएर इन्टेकमा पानी लगाएको स्थानीयको आरोप छ । उक्त आयोजनावाट २२ मेगावट विद्युत् उत्पादन हुन्छ । हेवा ‘ए’ जलविद्युत् आयोजनाले पनि नियमअनुसार खोलामा पानी छोडेको छैन । ‘प्रतिसेकेन्ड कति पानी बग्छ, त्यसको १० प्रतिशत छोड्नुपर्छ,’ सिवानी हाइड्रो पावर फावा खोलाको विद्युत् उत्पादनमा काम गरेका इन्जिनियर वीरेन्द्र श्रेष्ठले भने, ‘धेरै आयोजनाले पानी नछोडेको भन्ने सुनिरहेको छु ।’
पानी नहुँदा जलचर र खेतीकिसानी गर्नेलाई पनि असर परेको छ । फिदिम–४ का नरोत्तम थापाले खोला सुख्खा हुँदा बर्खे धानबालीदेखि तोरी, गहुँजस्ता हिउँदे बालीमा असर परेको बताए । ठाडो बहने भएकाले हेवा खोलाबाट कुलोमा पानी ल्याएर स्थानीयले सिँचाइ गर्दै आएका थिए । इन्टेकमा टालेर सुरुङमा लगाएपछि पानी चुहिने सम्भावना पनि नभएको तल्लो क्षेत्रका बासिन्दाले बताएका छन् । थापाटार र आसपासको क्षेत्र खेतीका लागि महत्त्वपूर्ण ठाउँ मानिन्छ ।
फिदिम नगरपालिका–४ का वडाध्यक्ष प्रकाश गुरुङले हाइड्रो पावर सञ्चालकलाई पानी छोड्न आग्रह गरेको बताए । ‘फिदिम–४, ११ र हिलिहाङ–७ नम्बर वडाका अध्यक्षले संयुक्त रूपमै ज्ञापनपत्र बुझाएका छौं,’ गुरुङले भने । हाइड्रो पावर सञ्चालक दीपेन्द्र आङ्वोले सिँचाइ कुलोका लागि पानी छोडेको बताए । ‘खोलामा पानी नै छैन के गर्नु,’ उनले भने, ‘अहिले हाम्रो उत्पादन पनि थोरै छ ।’
आयोजनाको विद्युत् उत्पादन पनि न्यून भएको छ । १५ मेगावाट विद्युत् उत्पादन हुने खोलामा ३ मेगावाट मात्रै हुन थालेको छ । इलामको गोदक स्टेसनका इन्चार्ज सुशान्त ठाकुरले ताप्लेजुङ, पाँचथर, इलाम तीन वटै जिल्लाको उत्पादन न्यून भएको बताए । उनका अनुसार इलामको सानिमा माई हाइड्रो पावरको उत्पादन ६.८ मेगावाट छ । पानी हुँदा यो २९ मेगावाट क्षमताको हो । २६ मेगावाटको माईभ्याली र सुपरमाईको उत्पादन ५.१ मेगावाटमा झरेको छ ।
६.२ मेगावाटको पुवाखोलाबाट २.५, ४ मेवाको पुवाखोला–१ बाट ०.७, ७.६ मेवाको जोगमाईबाट १.५, १२.५ मेवाको हिमाल दोलखाबाट २ मेगावाट मात्र उत्पादन हुँदै आएको छ । यहाँको विद्युत् गोदक सबस्टेसनमा जम्मा हुन्छ । पाँचथरको थापाटार र अमरपुर सबस्टेसमा जम्मा हुने १५ मेगावाटको हेवा खोलाबाट ३, २२.५ मेवाको माउन्टेन हाइड्रो पावरबाट ४.५, ३५ मेवाको काबेली ‘बी’ र इखालाबाट ८ र ५ मेवाको सिवानी फावा खोलाबाट २.५ मेगावाट विद्युत् उत्पादन भइरहेको ठाकुरले बताए ।

अर्थ वाणिज्य

नेप्से ६८.४७ अंकले घट्यो

- कान्तिपुर संवाददाता

(काठमाडौं) - सेयर कारोबार मापक नेप्सेमा बुधबार भारी गिरावट आएको छ । अघिल्लो दिन १४ अंकले बढेको नेप्सेमा बुधबार ६८.४७ अंकको गिरावट आएको हो । कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेको छ । उक्त दिन नेप्से परिसूचक १ हजार ४ सय ४१.२० अंकमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ४.५४ प्रतिशतले कमी हो ।
उक्त दिन बजार खुलेदेखि नै नेप्से घट्न थालेको थियो । बीचमा घट्ने दरमा केही आए पनि अन्त्यसम्म सोही क्रमले निरन्तरता पायो । उक्त दिन लघुवित्त समूहको परिसूचक सबैभन्दा बढी ६.१६ प्रतिशतले घट्यो । त्यसपछि धेरै घट्नेमा बिमा (जीवन र निर्जीवन) समूह रहे ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा कडाइ गरेपछि सो उपसमूहको परिसूचक धेरैले घटेको विश्लेषण गरिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा कडाइ गरेको हो । नयाँ व्यवस्थाअनुसार २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने संस्थाले थप ५० प्रतिशतको दुई वटा कोष स्थापना गर्नुपर्ने भएको छ, जसमध्ये २५ प्रतिशतको ग्राहक संरक्षण कोष र २५ प्रतिशतको सामाजिक उत्तरदायित्व कोष बनाउनुपर्छ । यसअघि २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा २५ प्रतिशतको ग्राहक संरक्षण कोष मात्र खडा गरे पुग्ने व्यवस्था थियो । सो दिन बैंकिङ उपसमूहको परिसूचक ४.५४, होटलको ४.२८, विकास बैंकको ३.६९, जलविद्युत्को २.८७ र ‘अन्य’ समूहको परिसूचक ३.७९ प्रतिशतले घटे । बुधबार करिब २९ हजार कारोबारबाट १ सय ७४ कम्पनीका ६७ लाख ७१ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचबाट २ अर्ब ९० करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब २४ प्रतिशतले कम हो ।

अर्थ वाणिज्य

प्रिमियम डिजाइन 'यामाहा एनम्याक्स १५५'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– इन्डोनेसियन सिरिजको ‘यामाहा एनम्याक्स १५५’ स्कुटर यामाहा नेपालले प्रिमियम डिजाइनका साथ नेपालमा भित्र्याएको छ । ‘एनम्याक्स १५५’ मा जडित फ्युलइन्जेक्टेड इन्जिनको विकास यामाहाको आधुनिक प्रविधि ब्लु कोर प्रविधि प्रयोग गरेर गरिएको छ । यो हलुका तौलको ट्युबलर फ्रेमका साथ निर्मित छ । दोहोरो सक रियर सस्पेन्सन प्रणाली, टेलिस्कोपिक फ्रन्ट फोर्क्स, उच्च विशिष्टीकरण च्यासिसलगायत विशेषता यसमा रहेको कम्पनीले जनाएको छ । यसलाई नेपालमा एमएडब्लू इन्टरप्राइजेजले इन्डोनेसियाबाट आयात गरेको हो । 

अर्थ वाणिज्य

विद्यार्थीलाई तीनदिने प्रशिक्षण

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित तेस्रो चरणको ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ सुरुवात गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबार प्रदेश २ का लागि एकेडेमीको सुरुवात गरेको हो । एकेडेमीले तीनदिने प्राविधिक, व्यावहारिक र प्रयोगात्मक बैंकिङ विषयगत तयारी कक्षा चैत ७ देखि ९ गतेसम्म वीरगन्जमा सञ्चालन गर्नेछ । एकेडेमीले फागुन २१ देखि ३० गतेसम्म निःशुल्क आवेदन खुलाएको छ । प्रदेशका स्नातक र स्नातकोत्तर अध्ययन गरेका विद्यार्थीले आवदेन दिन पाउने बैंकले जनाएको छ ।

अर्थ वाणिज्य

सात नयाँ मोडलमा बेनेलीको छुट

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनलले बेनेलीका सात नयाँ मोडलका मोटरसाइकलमा छुट दिने योजना ल्याएको छ । ग्राहकले बेनेलीको नयाँ मोडलको मोटरसाइकलको खरिदमा ३ हजारदेखि ३५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् । साथै दुई वर्षसम्मको निःशुल्क सर्भिसिङ र एक जनाले सेफ्टी गियर जित्न सक्ने कम्पनीले जनाएको छ । 

अर्थ वाणिज्य

'स्कुल बाई अटोम्याटिक्स एप' सार्वजनिक

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– विद्यालय, कलेज तथा शैक्षिक संस्थाको बसलगायत अन्य यातायात व्यवस्थापन सहजका लागि बुधबार ‘स्कुल बाई अटोम्याटिक’ एप सार्वजनिक गरिएको छ । सीजी होल्डिङ्स ग्रुपअन्तर्गत सूर्यविनायक गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा उक्त एप सार्वजनिक गरिएको थियो । 

अर्थ वाणिज्य

एनएमबीको पाँच वर्षसम्म स्थिर घर कर्जा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनएमबी बैंकले ‘घर कर्जा’ मा पाँच वर्षसम्म स्थिर ब्याजदरको योजना ल्याएको छ । योजनामा ११ प्रतिशतको निश्चित ब्याजदरका साथ कर्जाको अवधि अधिकतम २५ वर्ष रहनेछ । बैंकले ब्याजदरमा हुने उत्तारचढावले उत्पन्न मानसिक र वित्तीय दबाब कम गर्न उक्त योजना ल्याएको जनाएको छ । 

अर्थ वाणिज्य

विद्यालयलाई एनआईसीको ३ लाख सहयोग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनआईसी एसिया बैंकले मंगलबार सिन्धुलीको सुनकोसी गाउँपालिका–१ स्थित देवीस्थान माध्यमिक विद्यालयलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले विद्यालयलाई फर्निचर सामग्री खरिद गर्न उक्त सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई चेक हस्तान्तरण गरेका थिए । 

अर्थ वाणिज्य

कृषि बैंक–फोन पे सहकार्य

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कृषि विकास बैंक र फोन पेबीच बुधबार सम्झौता भएको छ । सम्झौतापछि फोन पेका सबै सेवा बैंकको मोबाइल बैंकिङबाट लिन सकिन्छ । यसका साथै बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ, जहाँबाट ग्राहकले मोबाइल बैंकिङमार्फत किनमेल तथा भुक्तानी गर्न सक्छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र फोन पेको एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । 

अर्थ वाणिज्य

बीओकेका ग्राहकलाई १० प्रतिशत छुट

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बैंक अफ काठमान्डू (बीओके) का ग्राहकले काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकको मोबाइल बैंकिङ, डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा उक्त छुट उपलब्ध गराउनेसम्बन्धी बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र क्लिनिकका निर्देशक सुयोग मैनालीबीच सम्झौता भएको हो । 

अर्थ वाणिज्य

सिटिजन्सद्वारा १० थान कम्प्युटर प्रदान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सिटिजन्स बैंक इन्टरनेसनलले पाल्पा रैनादेवी छहरा–४ स्थित भैरव नवदीप माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर प्रदान गरेको छ । संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत बैंकले विद्यार्थीको प्रतिस्पर्धात्मक प्राविधिक शिक्षण सिकाइमा सहयोग पुर्‍याउनका लागि उक्त सहयोग गरेको हो । बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथमा बुधबार आयोजित एक कार्यक्रममा उक्त कम्प्युटर हस्तान्तरण गरिएको थियो ।

अर्थ वाणिज्य

टीभीएस 'ईपीएल–२०२०' को टाइटल प्रायोजन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘ईपीएल–२०२०’ का लागि टाइटल प्रायोजन गर्ने भएको छ । उक्त प्रतियोगिता चैत १ गतेदेखि १५ गतेसम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ ।

अर्थ वाणिज्य

गण्डकीका एकैसाथ चार शाखा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– गण्डकी विकास बैंकले काठमाडौंको जोरपाटी, बालुवाखानी र जरंखुमा र भक्तपुरको थिमीमा एकैसाथ ४ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको बैंकका यी शाखासँगै देशभर ९५ शाखा पुगेका छन् । 

Page 13
समाचार

डा. केसी डडेलधुरा अस्पतालका स्वयंसेवक

दुई महिना निःशुल्क सेवा गर्न आएका उनलाई भेट्दा बिरामी खुसी
- कान्तिपुर संवाददाता
डडेलधुरा अस्पतालमा बुधबार बिरामीको जाँच गर्दै डा. गोविन्द केसी । तस्बिर ः डीआर/कान्तिपुर

(डडेलधुरा) - चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी मंगलबार डडेलधुरा आइपुगेको खबर सुन्नेबित्तिकै सदरमुकामका व्यवसायी, सामाजिक अगुवा र सञ्चारकर्मी भेट्न डडेलधुरा अस्पताल पुगे । गत कात्तिकमा डडेलधुरा अस्पतालनजिकै नौ दिनसम्म अनशन बसेका डा. केसीको यस पटक पनि त्यस्तै केही योजना हुनुपर्छ भन्ने उनीहरूको अनुमान थियो ।
पटक–पटक सत्याग्रह गर्दै आएका प्रा.डा. केसीलाई भेटेपछि सबैका अनुमान फेल खाए । उनले यस पटक आफू सर्वसाधारणको स्वास्थ्योपचारको सेवामा सघाउन आइपुगेको बताए । ‘म यस पटक निःशुल्क उपचार सेवा दिन आएको हुँ,’ उनले भने, ‘दुई महिनासम्म डडेलधुरा अस्पतालमा बसेर बिरामीको निःशुल्क सेवा गर्छु ।’
कुनै पनि प्रकारको सुविधा नलिई अस्पतालमा स्वयंसेवकका रूपमा काम गर्ने उनले बताए । सरकारी सेवावाट निवृत्त भएपछि पहिलो पटक डडेलधुरा अस्पतालमार्फत यस क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्न आएको सुनाएका उनले काम थालिसकेका छन् ।
‘म भाग्यमानी हुँ, अस्पताल पुग्नेबित्तिकै विशेषज्ञ डा. गोविन्द केसीबाट उपचार पाएँ,’ उपचारका लागि बैतडीको तल्लो स्वराडबाट डडेलधुरा अस्पताल आइपुगेका हरिसिंह ऐडीले भने, ‘सधैंभरि यसरी नै विशेषज्ञ चिकित्सकबाट डडेलधुरामै उपचार पाउने दिन कहिले आउला ?’ डडेलधुरामा प्रारम्भिक जाँचपछि थप उपचार गर्न जिल्ला बाहिर जान हिँडेका ऐडी डा. केसीबाट जाँच गराएपछि घर फर्किए । उनले भने, ‘सामान्य जाँच गरेर अस्पतालका डाक्टरले धनगढी रिफर गर्ने गरेका थिए, योपल्ट भने त्यसो भएन ।’ ऐडी मात्र होइन मंगलबार र बुधबार अस्पताल आएका धेरै बिरामीले डा. केसीबाट आफ्नो स्वास्थ्य जाँच गराएका छन् ।
आइपुगेकै दिनदेखि अस्पतालमा हाडजोर्नी विशेषज्ञ डा. योगेश आमात्यसँगै मिलेर सेवा दिन सुरु गरेका केसीलाई भेट्दा बिरामी खुसी छन् । केसीले गत कात्तिक १८ गतेदेखि नौ दिनसम्म अस्पताल नजिकै एउटा कोठा भाडामा लिएर चिकित्सा क्षेत्र सुधारका माग राख्दै १७ औं अनशन गरेका थिए । लिम्पियाधुरा र कालापानीमा भारतले भूभाग मिचेको समस्याले ठूलो रूप लिएपछि माग सुनुवाइ नहुँदै उनले त्यसबेला स्थगित गरेका थिए । सुदूरपश्चिमका सात पहाडी जिल्लाका स्वास्थ्य संस्थामा सामान्य उपचार सेवासमेत नभएको उनले गुनासो गरेका थिए । यस पटक पनि उनी अस्पताल नजिकै कोठा भाडामा लिएर बसेका छन् ।
डा. केसीले यस पटक भने पुनः अनशन बस्ने/नबस्ने विषयमा खुलेर बोल्न चाहेनन् । ‘अनशन बस्ने/नबस्ने विषयमा म पछि कुरा गरुँला । अहिले उपचारका लागि मात्र आएको हुँ,’ उनले भने, ‘यदि अर्को अनशन सुरु भयो भने डडेलधुराबाटै हुन सक्छ ।’ डा. केसी उपचार सेवा दिन डडेलधुरा आइपुगेको खबर पाएपछि बुधबारदेखि डडेलधुरा अस्पतालमा बिरामी आउने क्रम बढेको छ । डडेलधुरा, बैतडी, डोटी, बझाङ र दार्चुलाबाट बिरामी आउन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
डा. केसीलाई नियमित उपचार गर्न बेग्लै कक्ष भने उपलब्ध गराइएको छैन । ‘उहाँले हाम्रा हाडजोर्नीका चिकित्सक डा. योगेशसँगै मिलेर सेवा सुरु गर्नु भएको छ,’ अस्पतालका प्रमुख डा. जगदीशचन्द्र बिष्टले भने, ‘उपचार सेवा दिन डा. केसीलाई कुनै समस्या हुँदैन ।’ हाडजोर्नीका धेरै बिरामी आइपुग्ने अस्पतालमा स्वयंसेवाका लागि कुनै चिकित्सक इच्छाएर आउनुलाई स्वागत गरिएको उनले बताए ।
जहिले पनि चिकित्सकको अभाव हुने डडेलधुरा अस्पतालमा पछिल्लो समय भने केही विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । आठ जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत गरी ११ जना चिकित्सक छन् । ४० जना चिकित्सकको दरबन्दी भए पनि तोकिएको संख्या भने अझै संख्या पुगेको छैन । सय शय्याको सेवा प्रदान गरिरहेको अस्पताल तीन सय शय्याको प्रक्रियामा गइसकेको उनले बताए ।
सरकारले घोषणा गरेको देशका पाँचवटा सुविधासम्पन्न अस्पतालमध्ये डडेलधुरा अस्पताल पनि पर्छ । सात वर्षअघि टिम अस्पताल र जिल्ला अस्पताल गाभेर उपक्षेत्रीय अस्पताल घोषणा भएको थियो । अस्पतालमा पछिल्लो समय भने सेवा प्रवाहको स्तरमा सुधार आएको छ ।

 

समाचार

जन्ती बस दुर्घटनामा ३ को मृत्यु, ४९ घाइते

- कान्तिपुर संवाददाता
हेटौंडा अस्पतालमा बुधबार बेलुकी उपचाररत घाइते । तस्बिर ः सुवास विडारी/कान्तिपुर

मकवानपुर (कास)– जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । बुधबार साँझ कान्ति लोकपथअन्तर्गत मकवानपुर गढीगाउँपालिका–२ स्थित शिखरकटेरीको ओरालो घुम्तीमा ब्रेक नलाग्दा बस पहरामा ठोक्किएको हो ।
मृत्यु हुनेमा गढी–७ का २९ वर्षीय टोमबहादुर मोक्तान र ३५ वर्षीय सोम रुम्बा छन्, अर्का एकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंका अनुसार बकैया–११ घट्टेबाट दुलही लिएर गढी–७ कन्यातर्फ आउँदै गरेको ना३ख ३५५६ नम्बरको बस दुर्घटना भएको हो । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ । सामान्य घाइते २९ जनाको हेटौंडा अस्पताल र २० जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव हेटौंडा ल्याइएको छ । दुर्घटनामा दुलही फूलमाया लामा पनि घाइते छिन् ।
ओरालो घुम्तीमा बस पहरामा ठोक्किएको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए । ‘करिब ६० जना यात्रु सवार रहेको बुझिएको छ,’ उनले भने, ‘क्षमताभन्दा दोब्बर त भयो, चालकले गति नियन्त्रण गर्न नसकेको अवस्था भन्ने बुझियो ।’ बसमा यात्रु उभिएर र छतमा पनि बसेर यात्रा गरेको खुलेको उनले बताए । घटनालगत्तै फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

समाचार

बन्दाबन्दै खस्यो पुल

- कान्तिपुर संवाददाता

गोरखा (कास)– तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार नगरपालिका–५ हवाईग्राउन्ड जोड्ने मर्स्याङदी नदीमाथि निर्माणाधीन मोटरेबल पुलको फर्मा खसेको छ । ८६ मिटर लामो पुलको ४३ मिटरमा राखिएका झन्डै तीन हजार फलामे टेकासँगै फर्मा मंगलबार खसेको स्थानीयले बताए ।
फर्मा खस्दा तीन कामदार घाइते भएका छन् । घाइतेमध्ये बर्दियाका २२ वर्षीय सुनील चौधरीको अवस्था गम्भीर छ । उनको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार भइरहेको डीएसपी वासुदेव खतिवडाले बताए । बर्दिया घर भएका राज चौधरी र सन्दीप चौधरीको अवस्था सामान्य छ । पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले पुल निर्माणका क्रममा लापरबाही गरिएको बताए । ‘वर्कम्यानसिपको कमजोरी देखियो,’ उनले भने, ‘पूरै फर्मा झरेका छन् ।’ स्थानीय केशरकुमार श्रेष्ठका अनुसार खसेको फर्मा हटाउन कामदार खटाइएको छ । ‘फर्मा बिछ्याएर रड भरिँदै रहेछ, टेकाले धान्न नसकेर सबै फर्मा ढलेर लडेका छन्,’ उनले भने । पालुङटार–तुरतुरे सडक खण्ड अन्तर्गतको बेलिब्रिज विस्थापित गर्न २०७२ असार २५ देखि मोटरेबल पुल निर्माण थालिएको हो । २०७५ सार २५ सम्म निर्माण सक्ने गरी ठेक्का पाएको गौरी पार्वती निर्माण सेवाले समयमै काम सकेको छैन । पछिल्लो पटक २०७६ असार २५ सम्मका लागि कम्पनीको म्याद थप गरिसकिएको छ ।
सडक विभागअन्तर्गतको पुल योजना कार्यालय पाल्पाका योजना प्रमुख भीमार्जुन कँडेलले पुलको फर्मा खस्नु सामान्य भएको बताएका छन् । ‘सटिङ लगाउँदा लगाउँदै ढलेको हो, बनिसकेपछि होइन, साधारण कुरो हो । फेरि काम सुरु गरिहाल्छौं,’ उनले भने ।

Page 14
समाचार

मणिपुरबाट २२ नेपाली फर्काइँदै

- कान्तिपुर संवाददाता

(काठमाडौं) - संगठित मानव तस्करको गिरोहले भारतको मणिपुर हुँदै म्यानमार लैजान खोज्दा उद्धार गरिएका २२ जना नेपालीलाई नेपाल ल्याउने तयारी गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत एसएसपी प्रकाश अधिकारीका अनुसार फरक–फरक समयमा उद्धार गरिएका उनीहरूमध्ये धेरैजसो महिला रहेको र तिनीहरू मानव तस्करको फन्दामा परेर अवैध बाटो हुँदै वैदेशिक रोजगारीका निम्ति जान लागेका थिए । अधिकांशलाई खाडीका विभिन्न देशमा घरेलु कामदारका रूपमा लैजान लागिएको थियो ।
२०७२ वैशाखमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका जारी गर्दै सरकारले साउदी अरब, कतार, कुवेत, यूएई, ओमान र बहराइन, लेवनान र मलेसियामा घरेलु महिला कामदार पठाउन प्रतिबन्ध लगाएको थियो । सरकारी प्रतिबन्धपछि महिलालाई भारतीय बाटो हुँदै अवैध रूपमा तेस्रो देश लैजाने काममा संगठित मानव तस्करहरू सक्रिय देखिन्छन् । मणिपुर हुँदै अवैध रूपमा म्यानमार छिराएर खाडी र इराकजस्ता देशमा घरेलु कामदारको तस्करी नयाँ घटना होइन । २०७५ फागुन ७ मा पनि मणिपुरबाट भारतीय प्रहरीले अवैध बाटोबाट घरेलु कामदारका रूपमा मुख्यतः इराक र कुवेत जान हिँडेका १ सय ७९ जनाको उद्धार गरेको थियो । जसमा १ सय ४७ जना महिला थिए । प्रहरीको मानव तस्कर नियन्त्रण ब्युरोका अनुसार गत वर्षको फागुनयता संगठित मानव तस्करको सम्पर्कबाट अवैध रूपमा विभिन्न देशको श्रम बजारमा प्रवेश गर्न खोज्ने २ सय ७२ जनाको उद्धार भएको छ ।
ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले उद्धार भएकालाई सरकारी प्रक्रिया पूरा गरेरै नेपाल फर्काउने तयारी भइरहेको बताए । उनले उद्धार भएकाबारे भारतीय प्रहरीले पनि अनुसन्धान गरेको उल्लेख गर्दै भने, ‘नेपाली, भारतीय र खाडीका विभिन्न देशका एजेन्ट मिलेर तस्करीको यस्तो रुट चलाएको देखिन्छ ।’ एसपी थपलियाको बुझाइमा दिल्लीस्थित विमानस्थल हुँदै तेस्रो मुलुक जानका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएपछि मणिपुर हुँदै अवैध रूपमा म्यानमार छिराउने रुट सक्रिय भएको देखिन्छ ।
गत वैशाख २६ मा पनि पूर्वोत्तर भारतको मिजोरमबाट अवैध रूपमा खाडीका विभिन्न देशमा घरेलु कामदारका रूपमा लैजान लागिएका २३ महिलाको उद्धार गरिएको थियो । मिजोरमको प्रान्तीय राजधानी आइजोलबाट करिब १ सय ८८ किलोमिटरको दूरी छिचोलेपछि चम्फाइ बजार पुगिन्छ । छिमेकी म्यानमारको सिमानामा रहेको यो बजारको पारिपट्टि जोखोथार बजार छ । तेस्रो देशका नागरिकलाई पारिको बजार जान भिसा लिनु अनिवार्य छ तर संगठित मानव तस्करका गिरोहले अध्यागमनका कर्मचारी र प्रहरीलाई प्रलोभनमा पारेर यही बजार हुँदै वा मणिपुरको मोरो भन्ने ठाउँ हुँदै अवैध रूपमा म्यानमार छिराउने गरेको देखिन्छ ।

समाचार

करेलीकाँडामा थप चिकित्सक पुगे

- कान्तिपुर संवाददाता

रुकुम पश्चिम (कास)– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोग नियन्त्रणमा आउन नसकेपछि चिकित्सक टोली पुगेको छ । बुधबार बिहान हेलिकप्टरमार्फत औषधि र उपकरणसहित पुगेका चिकित्सक तथा स्वास्थ्यकर्मीले घरघरमा गई उपचार थालेका छन् ।
रोग नियन्त्रणका लागि सुर्खेतबाट ल्याब टेक्निसियन तथा चिकित्सकको टोली डोल्पा पठाइएको हो । जिल्ला अस्पतालका चिकित्सक पनि करेलीकाँडा पुगेका छन् । रोग पत्ता लगाउनुपर्ने भएकाले ल्याब टेक्निसियनमार्फत नमुना संकलन गरी सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । यसअघि स्थानीय स्वास्थ्यकर्मीले मात्रै गाउँलेको उपचार गरिरहेका थिए । ५० भन्दा बढी स्थानीयवासीमा एकैखाले लक्षण देखिएको थियो ।
उनीहरूमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, रिंगटा लाग्ने, हातखुट्टा दुख्नेलगायत लक्षण देखिएका छन् । प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार रोग पहिचान नभएपछि उक्त क्षेत्रका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

Page 15
खेलकुद

एपीएफविरुद्ध पुलिस हाबी

छैटौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधिका साथ नेपाल पुलिस टिम ।
तस्बिर ः रुपा/कान्तिपुर

(नेपालगन्ज) - विभागीय टिमबीचको फाइनल भिडन्तमा नेपाल एपीएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले छैटौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबलको ट्रफी उचालेको छ । यो जितबाट पुलिसले एपीएफसँगको लगातारको हार शृंखला तोडेको छ ।
नेपालगन्जस्थित कभर्डहलमा बुधबार फाइनलमा पुलिसले ३–० को सोझो सेटमा सफलता पाएको हो । मुख्य स्पाइकर सरस्वती चौधरी र ओपन स्पाइकर नेबिका चौधरीको अभावमा एपीएफले गतिलो प्रदर्शन गर्न सकेन । दुवै चोटका कारण प्रतियोगितामा सहभागी थिएनन् । खेलका क्रममा एपीएफकी कप्तान विनीता बुढाथोकी पनि घाइते भएकी थिइन् । उनीहरूको अनुपस्थितिमा अनुमान गरिएभन्दा फरक पुलिसले एकपक्षीय रूपमा खेल जितेको थियो । सुरुदेखि नै अग्रता लिएको पुलिसले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो । १९–१६ को अवस्थामा पुलिसले लगातार ७ अंक जोड्दै सेटमा अग्रता लियो । दोस्रो सेटमा सुरुमा पछि परे पनि पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै २५–१७ ले आफ्नो पक्षमा ल्यायो । बराबरीकै अवस्थामा पुलिसले १८–१६ को अवस्थाबाट लगातार ६ अंक जोडेको थियो । अन्तिम सेटमा पछि परेको स्थिति तोड्दै पुलिसले २५–१८ सेटसँगै खेल जितेको थियो । गत वर्ष न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई पराजीत गर्दै एपीएफले उपाधि जितेको थियो । एपीएफका प्रशिक्षक विजय केसीले खेलाडी अभावकै कारण राम्रो खेल प्रदर्शन गर्न नसकेको स्विकारे । ‘पुलिसले राम्रो खेल खेलेको हो,’ उनले भने, ‘मुख्य स्पाइर सरस्वती र ओपन स्पाइकर नेबिकाको अभाव खट्किएकै हो ।’
पुलिसले २ लाख र एपीएफले १ लाख रुपैयाँ पुरस्कार पाए । बुधबारै त्रिभुवन आर्मी क्लबले न्यु डायमन्डलाई ३–० को सोझो सेटले हराएर तेस्रो स्थान हात पार्‍यो । आर्मीले ५० हजार रुपैयाँ पायो ।
पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले १० हजार पाइन् । स्पाइकरमा एपीएफकी निरुता ठगुन्ना, सर्भरमा पुलिसकी मनीषा चौधरी र सेटरमा पुलिसकी कमला पुन, ब्लकरमा आर्मीकी संगम महतो उत्कृष्ट घोषित भए । न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबरो चुनिँदा पुलिसका रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । सबैले ५–५ हजार रुपैयाँ हात पारे ।

रुपा गहतराज 

खेलकुद

सकियो छनोट सम्भावना

- कान्तिपुर संवाददाता
इस्टर्न रिजन क्रिकेटमा बुधबार थाइल्यान्डसँग बलिङपछि नेपालका सन्दीप लामिछानेसहित अन्य खेलाडी ।तस्बिर सौजन्य ः क्रिकेटिङनेपाल

(काठमाडौं) - नेपाली क्रिकेट टोली एसीसी एसिया कप छनोटको प्रारम्भिक चरण पार गर्न असफल भएको छ । एसीसी इस्टर्न रिजन ट्वान्टी–२० कपमा मलेसिया र हङकङसँग पराजित भएपछि कठिन स्थितिमा पुगेको नेपालले बुधबार घरेलु टोली थाइल्यान्डलाई ९ विकेटले हराए पनि फाइनल पुग्न नसक्ने निश्चित भएको छ ।
इस्टर्न रिजनका फाइनलिस्ट टोलीले अगस्टमा एसिया कप छनोट खेल्न पाउनेछन् । जहाँ वेस्टर्न रिजनका फाइनलिस्ट टोलीसँग राउन्ड रोबिन प्रणालीमा प्रतिस्पर्धा हुनेछ । त्यो प्रतियोगिता विजेताले सेप्टेम्बरमा टेस्ट मान्यताप्राप्त ५ राष्ट्रसँग एसिया कप ट्वान्टी–२० खेल्ने अवसर पाउनेछ । नेपालले अहिलेसम्म एसिया कप खेलेको छैन ।
सुरुआती दुई खेल मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएपछि नेपालले फाइनल पुग्नका लागि बाँकी २ खेल ठूलो अन्तरमा जित्ने र अन्य टिमको नतिजा आफूअनुकूल हुनुपर्ने समीकरण बनेको थियो । त्यसअनुसार बुधबार नेपालले थाइल्यान्डमाथि ठूलो अन्तरको जित निकाल्यो । तर दिनको दोस्रो खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेपछि नेपाल सिंगापुरसँग खेल्नुअगावै फाइनल नपुग्ने निश्चित भएको हो । लगातार तीन जितपछि सिंगापुर फाइनलमा पुगेको छ । अब मलेसिया र हङकङबीचको विजेताले फाइनलमा स्थान बनाउन छ । दुवैको तीन खेलबाट २ जितसिहत ४–४ अंक बनाएका छन् ।
बैंककको ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमै १ विकेट क्षतिमा भेट्टायो । ब्याटिङलाइन परिवर्तन गरेको नेपालले थाइल्यान्डसँग पूर्व कप्तान पारस खड्का र कुशल मल्ललाई ओपनिङ पठाएको थियो । खराब लयबाट गुज्रिइरहेका पारस ९ रनको स्कोरमा आउट भए पनि त्यसपछि आएका पवन सर्राफले कुशलसँग ५८ रनको अविजित साझेदारी गर्दै खेल जिताए । कुशलले १८ बल खेलेर २ छक्का र ५ चौका सहयोगमा ३६ रन बनाए । छक्का प्रहार गर्दै टिमलाई जित दिलाएका पवनले १० बलमा ३ छक्का र २ चौकासहित २७ रन जोडे ।
त्यसअघि टस जितेको थाइल्यान्डले अन्तिम बलमा अलआउट हुनुअघि न्युन योगफल बनाउँदा दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सके । तेस्रो नम्बरमा ब्याटिङ गरेका हेन्नो जोर्डनले १६ र नवौं नम्बरका फिरियापोङ सुआनचुआईले अविजित १३ रन बनाए ।
थाई इनिङ्स ध्वस्त पार्न करण केसीले ३ विकेट लिए । उनले ४ ओभरमा २ मेडन राख्दै १२ रन खर्चिए । ४ ओभरमा २३ रन खर्चिएका अविनाश बोहराले २ विकेट लिए । सन्दीप लामिछानेले १ र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका भुवन कार्कीले १ विकेट लिए । भुवनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित ६ रनमात्र खर्चिए ।
सन्दीपले आफ्नो स्पेलमा २ मेडन राख्नै ९ रन खर्चिएका थिए । त्यसक्रममा २४ मध्ये २२ बलमा उनले रन दिएनन् । बाँकी २ बलमा ३ रन खर्चिएका उनको ६ रन वाइड बलिङबाट गएको हो । दुईपल्ट वाइड फाल्दा एउटा बल चौका भएको थियो । डट बलमा यो उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । सन्दीपले यसै प्रतियोगिताबाट ट्वान्टी–२० क्रिकेटमा १ सय विकेट पूरा गरेका थिए । यस प्रतियोगितामा अहिलेसम्म उनले ५ विकेट लिइसकेका छन् । समग्रमा उनको
ट्वान्टी–२० विकेट १ सय ४ पुगेको छ ।

खेलकुद

लिभरपुलको अर्को हार

- एएफपी
लिभरपुलविरुद्ध जित पाएपछि आफ्ना खेलाडीसँग खुसी साट्दै चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्ड (दायाँ) ।तस्बिर ः एपी

लन्डन – पछिल्ला चार खेलमा तेस्रो असफलताका रूपमा मंगलबार राति चेल्सीसँग २–० ले पराजित हुँदै एफए कपबाट बाहिरिनुका बाबजुद प्रशिक्षक
योर्गन क्लोपले लिभरपुलको यस सिजनको प्रदर्शनलाई सर्वश्रेष्ठ करार गरेका छन् ।
क्लोपले प्रिमियर लिगको ४५ औं खेलमा शनिबार पहिलोपल्ट हारे बेहोरेको टिमबाट सात परिवर्तन गरेका थिए । तर उनले टिमलाई अन्य युवा टोलीको तुलनामा उत्कृष्ट दाबी गरे । लिभरपुलको युवा टोली एभरटन र श्रेसवरीलाई पराजित गरी एफए कपको पाँचौं चरण पुगेको थियो । तर विलियन र रस बार्कलीको गोलमा फ्रान्क लाम्पार्डको चेल्सीले स्टामफोर्ड ब्रिजमा अत्यावश्यक जित पायो ।
‘२–० ले पराजित हुनु पक्कै राम्रो होइन । तर, यसलाई बृहत कोणबाट हेर्दा राम्रो हुन्छ । हामीले गोलको उत्कृष्ट अवसर खेर फाल्यौं,’ हारपछि क्लोपले भने । ३० वर्षमा पहिलोपल्ट प्रिमियर लिगको उपाधि जित्ने अभियानमा रहेको लिभरपुल २२ अंकको अग्रतासहित शीर्षस्थानमा आरामको स्थितिमा छ । तर च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने लक्ष्यमा एक खुट्किलो अगाडि बढ्न अर्को साता हुने प्रिक्वाटरफाइनल दोस्रो लेगमा एट्लेटिको म्याड्रिडको १–० को अग्रता उल्टाउनुपर्नेछ ।
‘पछिल्लो ३ साता हाम्रो यो सिजनकै खराब समय रह्यो । तर अबका तीन साता सिजनकै सानदार समय बनाउने अवसर छ र यही अनुसारको योजना बनाएका छौं,’ क्लोपले भने ।
प्रिमियर लिगका पछिल्ला १६ खेलमा ५ जित तथा च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलको पहिलो लेग बार्यन म्युनिखसँग ३–० ले गुमाएपछि सिजनमा कम्तीमा एउटा उपाधि आशा जीवित राख्न चेल्सीका लागि यो खेल जित्नैपर्ने थियो । ‘हामी इडेन हाजार्ड र डिएगो कोस्टा तथा जोन टेरी र डिडियर ड्रोग्बाका समयको चेल्सी रहेनौं । हामीसँग युवा खेलाडीको वर्चस्व छ र खराब समयबाट मुक्ति पाउने प्रयासमा छौं,’ चेल्सीकै पूर्व खेलाडी लाम्पार्डले भनेका छन् ।
मंगलबार न्युकासल र सेफिल्ड युनाइटेडले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् । मिगुल अल्मिरोनको दुई गोल सहयोगमा न्युकासलले वेस्टह्यामलाई ३–२ ले पराजित गर्दै १४ वर्षमा पहिलोपल्ट एफए कपको अन्तिम ८ को यात्रा तय गरेको हो ।
विल्ली सार्पको निर्णायक गोलमा सेफिल्डले रिडिङलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै क्वाटरफाइनल पुगेको हो ।

खेलकुद

मछिन्द्र फाइनलमा

- कान्तिपुर संवाददाता

(इलाम) - सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब बुधबार इलाममा जारी छैटौं माईभ्याली गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । दार्जिलिङको मानेभन्ज्याङ फुटबल क्लबलाई ३–० ले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो ।
मछिन्द्रबाट दुई गोल रेजिन सुब्बाले गरेका थिए । अर्को गोल एडिलाजा सोमिडेको नाममा रह्यो । पहिलो हाफको १९ औं मिनेटमा मछिन्द्रका रन्जित धिमालले दिएको पासमा पेनाल्टी क्षेत्र नजिकैबाट रेजिनले आकर्षक गोल गरेका हुन् । त्यसको दुई मिनेटभित्र रन्जितको कर्नरमा एडिलाजाले हेडमार्फत दोस्रो गोल गरेका थिए ।
मछिन्द्रले नियन्त्रणमा लिएको खेलमा ८६ औं मिनेटमा रेजिनले वान भर्सेस वानको अवस्थामा गोल गर्दै अग्रता बढाए । खेलमा मछिन्द्रका देवेन्द्र तामाङ म्यान अफ द म्याच घोषित भए ।
मानेभन्ज्याङको हारसँगै भारतका चारै टिम बाहिरिएका छन् । कोलकाताको मोहम्मडन, सिक्किमको ग्यान्टोक सिटी र नागाल्यान्डको कोहिमा इगल फुटवल क्लब पहिलो चरणबाटै बाहिरिए ।
मछिन्द्रले खेल अवधिभर नै मानेभन्ज्याङलाई दबाबमा राख्यो । अनुभवी खेलाडीले भरिएको मछिन्द्रका लागि विमल घर्तीमगरले पाएका केही अवसर गोलमा परिणत गर्न सकेनन् । तीन अफ्रिकन खेलाडीसहित मैदान उत्रिएको मछिन्द्रले पहिलो खेलमा भन्दा सुधारिएको प्रदर्शन गरेको थियो । ‘विपक्षी टिमको कमजोरीको पर्याप्त फाइदा उठायौं,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘पहिलो हाफमा नै दुई गोल निकाल्न सफल भएकाले सहज भयो ।’
मानेभन्ज्याङका प्रशिक्षक रिवाङ भुटियाले खेलाडीले राम्रो प्रदर्शन गरे पनि जित निकाल्न नसकेको बताए । ‘अर्को वर्ष बलियो टिमका साथ सहभागी हुनेछौं,’ उनले भने । बुधबार आयोजक माईभ्याली फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ ।

खेलकुद

मकवानपुर गोल्डकप सर्‍यो

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– हेटौंडामा हुने तेस्रो मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता एक महिना पछाडि सरेको छ । मकवानपुर जिल्ला फुटबल संघले फागुन २९ देखि हुनुपर्ने प्रतियोगिता तयारी र प्राविधिक कारणले एक महिना पछाडि सार्नुपरेको जनाएको छ । प्रतियोगिता चैत २९ देखि हुनेछ ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २९ देखि खेल आयोजना गर्न अनुमति दिएकोमा विभिन्न ठाउँमा भइरहेको गोल्डकपको मिति जुधेकाले आयोजकले एक महिनापछिको मिति मागेको थियो । गत वर्ष मकवानपुर गोल्डकपको नाममा भएको प्रतियोगिता यसपालिदेखि ‘स्थानीय तह तेस्रो राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुर गोल्डकप’ हुनेछ । प्रतियोगिताका लागि जिल्लाका स्थानीय तहले ६५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । यसवर्ष विजेताले १० र उपविजेताले ५ लाख पाउनेछन् ।

खेलकुद

राजर्षि जनक कप आजदेखि

- कान्तिपुर संवाददाता

सर्लाही (कास)– प्रदेश–२ को सर्वाधिक धनराशिको चौथो राजर्षि जनक कप राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबार वाग्मतीको मैदानमा सुरु हुँदै छ । उद्घाटन खेलमा आयोजक वाग्मती युवा क्लब (नीलो) र ब्वाइज युनियन क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । चैत १ सम्म चल्ने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार जित्नेछन् । आयोजक क्लबका अध्यक्ष किस्मत मैनालीले प्रदेश २ कै ठूलो धनराशिको फुटबल प्रतियोगिता भएको बताए । सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगितामा दुई विदेशीसहित १२ टिमले भाग लिनेछन् । विधागत उत्कृष्टले जनही २० हजार तथा म्यान अफ द म्याच हुनेले १० हजार रुपैयाँ पाउनेछन् । सर्वाधिक गोलकर्ताले ५१ हजार र सर्लाहीका एक खेलाडीलाई ‘वाग्मती राइजिङ अफ द इयर प्लेयर’ घोषणासहित मोटरसाइकल दिइने जनाइएको छ ।

खेलकुद

खेलकुद विधेयक पारित

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– समयानुकूल हुने गरी ल्याइएको खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ संसद्को तल्लो सदन प्रतिनिधिसभाबाट बुधबार पारित भएको छ । राष्ट्रिय सभाबाट उत्पत्ति भएकाले यो विधेयक पुनः राष्ट्रिय सभामै पेश हुनेछ । त्यहाँबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गरिनेछ । भदौ १ मा प्रतिनिधिसभाको समितिमा पेश भएको थियो । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र खेलकुद समितिले ६ महिना लगाएर माघ २७ गते केही संशोधनसहित पास गरेको थियो । २०७५ फागुन ५ मा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पहिलोपल्ट विधेयक राष्ट्रिय सभामा दर्ता गरेका थिए ।

खेलकुद

राष्ट्रिय स्क्वास शुक्रबारदेखि

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल स्क्वास र्‍याकेट्स संघको आयोजनामा खुला स्क्वास प्रतियोगिता शुक्रबार सुरु हुनेछ । ५ दिन चल्ने प्रतियोगिता सातदोबाटोस्थित स्क्वास एकेडेमीमा हुनेछ । पारवाहन कम्पनी पशुपति रोड क्यारियर नेपालको मुख्य प्रायोजन रहने प्रतियोगिता पहिलोपल्ट हुन लागेको हो । खुला पुरुष, महिला र मास्टर ४५ वर्षमाथि गरी तीन विधामा प्रतिस्पर्धा हुने बुधबार पत्रकार सम्मेलनमा संघका महासचिव सुरेश गुरुङले बताए । ब्रिटिस गोर्खा आर्मीका १० समेत गरी ६० भन्दा बढी खेलाडीको सहभागिता रहने जनाइएको छ । ब्रिटिस गोर्खाको टिम काठमाडौं आइसकेको छ । स्पर्धामा १३ औं सागका कांस्य विजेता नेपाली खेलाडी सहभागी पनि सहभागी छन् ।

खेलकुद

राइनोज र शंकरनगर भिड्ने

- कान्तिपुर संवाददाता

भैरहवा (कास)– भैरहवामा भइरहेको एसियन च्यालेन्जर ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा राइनोज क्रिकेट क्लब काठमाडौं र शंकरनगर क्रिकेट कलब रूपन्देही भिड्ने भएका छन् । सिद्धार्थ रंगशालामा बुधबार सेमिफाइनलमा राइनोजले अर्सक क्रिकेट क्लब बंगलादेशलाई ९ विकेट र शंकरनगरले वेस्टर्न क्रिकेट क्लब बुटवललाई ४४ रनले हराएका थिए । फाइनल बिहीबार हुनेछ ।