उत्तरी छिमेकी चीनमा पहिलो पटक देखा परेको कोरोना भाइरस (कोभिड–१९) अहिले युरोप, अमेरिका हुँदै संसारभर महामारीका रुपमा विस्तार भइसकेको छ । विश्वभर संक्रमितको संख्या २ लाख नाघिसकेको छ भने
८ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । नेपालसँग खुला सिमाना रहेको दक्षिणी छिमेकी भारतमा समेत प्रकोपका रुपमा बढिरहेको यो संक्रमण नेपालमा प्रसार हुनबाट कसरी रोक्ने र भइहाले निणन्त्रणका
लागि के कस्तो तयारी आवश्यक छ भन्ने विषयमा कान्तिपुरले बुधबार काठमाडौंमा राउन्ड टेबल छलफल आयोजना गरेको छ । छलफलका सहभागीहरुले व्यक्त गरेका विचारको सम्पादित अंश ः
ॅतयारी पुगेको छैन’
डा. शरद वन्द
जनस्वास्थ्यविद्
कोभिड–१९ को विश्वव्यापी महामारीलाई कसरी हेर्नुभएको छ ?
कोभिड–१९ प्रकोपका बारेमा धेरै कुरा पत्ता लाग्नै बाँकी छ । अहिले धेरै कुरा परिकल्पनाको आधारमा भनिएका छन् । कोभिडको आफ्नै प्रकृति छ । यसको कसरी विकास भयो र कहिलेसम्म बस्छ भन्न सक्ने अवस्था छैन । यो भाइरसबारेका अधिकांश कुरा परिकल्पनाकै आधारमा भनिएको भनेर विश्व स्वास्थ्य संगठनले नै भनिसकेको छ ।
जबसम्म यो प्रकोप रहन्छ निश्चित रूपमा केही भन्न नसकिने वैज्ञानिकहरूले पनि भनेका छन् । नेपालमा अहिले कोभिड संक्रमित एकजना पनि छैनन् भन्नु संयोग हो या यथार्थ, भन्न सकिँदैन । धेरै परीक्षण भए, सबै नेगेभिट आए । यसो भन्दैमा त्रास छैन, हामी सुरक्षित छौं भनेर बस्नु हुँदैन । नेपाल जस्ता धेरै मुलुकमा कोभिडको संक्रमण देखिएको छैन तर उनीहरू तयारी गरिरहेका छन् । हामी पनि जोखिममा छौं, भोलि हुने सम्भावनालाई हामीले नकार्न मिल्दैन ।
नेपालको यसविरुद्ध लड्ने तयारी के कस्तो हुनुपर्छ ?
नेपालमा संक्रमण फैलिहाले कसरी उपचार गर्ने भन्ने तयारी पुगेको देखिँदैन । संक्रमणको रोकथाम नै पहिलो कदम हो । हामीभित्रै पनि संक्रमण हुन सक्छ र फैलिन सक्छ । भाइरस पहिचान गर्ने क्षमता विस्तार गर्न आवश्यक छ । बढीभन्दा बढी परीक्षण गरेर केस पत्ता लागाउनुपर्छ । विश्व स्वास्थ्य संगठनले पनि यही भनेको छ ।
संक्रमित पहिचान भए अस्पताल नै भर्ना गरेर उपचार गर्नुपर्ने स्थिति आयो भने के गर्ने भनेर तयारी गर्न आवश्यक छ । अस्पतालहरूमा आइसोलेसन, आईसीयू र स्वास्थ्यकर्मीको राम्रो व्यवस्थापन भएको छ जस्तो लाग्दैन ।
ॅ१५ सयवटा परीक्षण गर्न सक्ने क्षमता छ’
डा. रुणा झा
निर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
यदि नेपालमा महामारीकै रूपमा कोरोना संक्रमण देखिए ठूलो संख्यामा परीक्षण गर्नुपर्ने हुन्छ । प्रविधि र जनशक्तिको हिसाबमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सामर्थ्य कस्तो छ ?
आजको मितिमा हामीले १५ सयवटा परीक्षण गर्न सक्ने गरी योजना र व्यवस्था मिलाएर राखेका छौं । अहिले त्यो अवस्था आएको छैन । हिजो हामीले सबैभन्दा धेरै २० वटा परीक्षण गरेका थियौं । अझै बढ्दै गयो भने के गर्ने भनेर हामीले योजना तयार गरेका छौं । ठूलै महामारी भयो भने कुन विन्दुमा पुगेर परीक्षण नै गर्न बन्द गर्ने भन्ने पनि प्रोटोकल बनाएर स्वास्थ्य मन्त्रालयलाई बुझाउँदै छु । १५ सयभन्दा बढेर २५ सय केसको परीक्षण गर्नुपरेको खण्डमा पनि एक–दुईवटा थप उपकरणहरू जडान गरेर त्यो पनि गर्न सक्छौं । त्यसको मतलब २५ सयसम्मको परीक्षण गर्न हामीलाई धेरै समस्या हुने छैन ।
संक्रमण भए/नभएको थाहा पाउन जुन परीक्षण गरिन्छ, त्यसको रिपोर्ट प्राप्त हुन कति समय लाग्छ ?
अहिले विश्व स्वास्थ्य संगठनले बनाएको प्रोटोकललाई आधार मानेर काम गर्दा ६ घण्टा लाग्छ । तर, बजारमा छिटो परीक्षण गर्ने किट्सहरू पनि आएको भन्ने सुनिन थालेको छ । नेपालमा पनि धेरै बिक्रीकर्ताहरूले हामी छिटो परीक्षण गर्ने किट्स ल्याइदिन्छौं भनेर भन्न आउनुहुन्छ । हामी त्यस्ता किटहरू परीक्षण गरेर हेर्छौं नि त दिनुस् न त भन्यो भनेचाहिँ उहाँहरूले उपलब्ध गराउन सक्नु हुन्न ।
कोरोना जाँच गर्ने किट्स हामीसँग कति छ ?
हामीसँग कोरोना नै जाँच गर्ने किट १२ सय जति छ । हामी परीक्षणका लागि कस्तो प्रोटोकल फलो गर्छौं त्यसमा पनि भरपर्छ । अहिले हामीले दुईवटा विधिलाई अपनाइरहेका छौं । एउटा विश्व स्वास्थ्य संगठनको प्रोटोकल र अर्को भनेको सीडीसीको । पूर्ण रूपमा आश्वस्त हुन हामी दुवै परीक्षण गरिरहेका छौं । अहिले हामीले किट मगाए पनि आइहाल्ने अवस्था छैन । किनभने विश्वमा त्यस्ता किट उत्पादन गर्ने देश र कम्पनीको मुख्य ध्यान अहिले युरोपमा केन्द्रित छ । यसपछि अमेरिका हो अनि मात्रै एसियाका देशहरू हुन् ।
संक्रमण देखिए त्यो बेलालाई हेरेर सप्लाई चेनको अवस्था के छ ?
दुई हजारका लागि ग्लोबल टेन्डर भइसकेको छ । त्यसको बिहीबार अन्तिम दिन छ । अर्को ८ हजारका लागि पनि फाइल तयार भइसक्यो । तर, पछि त हामीले पहिलो टेन्डरकै रेटिङका आधारमा थप सामग्री पनि मगाउन सक्छौं ।
अरू निजी ल्याबसँग सहकार्य गर्ने योजना बनाउनुभएको छ ?
यो जनस्वास्थ्यको विषय हो । त्यसैले यो रिपोर्टको ठूलो अर्थ रहन्छ । हामीले प्रमाणित नभएका प्रयोगशालालाई पनि परीक्षण गर्ने अनुमति दिँदा त्यहाँबाट दिइएको रिपोर्टमा गडबढ भए जिम्मा कसले लिने ? त्यसैले जहाँ पनि यो सरकारले नै जिम्मा लिएको अवस्था छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पनि स्थापना भइसकेको छ । त्यो प्रयोगमा आउन भने केही समय लाग्ने अवस्था छ । तर, आजको दिनमा केही भइहाले हाम्रो क्षमताका बारेमा मैले पहिला नै भनिसकें । त्यसमा केही थप गर्नुपरे वीर अस्पताल, त्रिविको माइक्रोबायोलोजी विभाग छ । त्यहाँका जनशक्ति र उपकरणहरू हामी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याएर प्रयोग गर्न सक्छौं । त्यसका लागि छलफल पनि भइसकेको छ । त्यसले पनि नपुगे निजी प्रयोगशालाका उपकरण र जनशक्ति पनि हामीले ल्याएर प्रयोग गर्न सक्छौं । त्यसैले अहिले २० वटा स्याम्पल आउँदैमा आत्तिएर निजी क्षेत्रलाई गुहारी हाल्नुपर्ने अवस्था छैन ।
अहिले हामीले सीमित मात्र परीक्षण गरेर नेपालमा कोरोना संक्रमित छैनन् भनिरहेका छौं । के त्यो सही हो ? हामीले किन परीक्षणको दायरा बढाउन सकिरहेका छैनौं ?
हामीलाई जति स्याम्पलको परीक्षण गर भनेर दिइन्छ, त्यति नै गर्ने हो । पहिलो कुरा त हामीकहाँ धेरै थरी व्यक्ति कोरोनाको परीक्षण गरिदिनुपर्यो भनेर आउनुहुन्छ । केही आइसोलेसनमै राखिएका बिरामीको स्याम्पल हुन्छ भने अधिकांश विदेश जानका लागि, कुनै चिकित्सकहरूले परीक्षण गरेपछि शंका लागेर पठाइएकाहरू हुनुहुन्छ । हामीले अहिले आइसोलेसनमा भएकाहरूको मात्रै परीक्षण गरिरहेका छौं । केवल एउटा कागजको टुक्रामा ‘कोभिड–१९ शंका गरिएको’ भनेर लेखेर पठाइएकाहरूको परीक्षण गर्न सकिँदैन । शंका नै लागेको हो भने बिरामीलाई आइसोलेसनमा राखेर पठाएको हुनुपर्यो । शंका लागेको छ भनेर त्यसलाई राख्नुपर्यो, सरकारी निकायलाई जानकारी दिनुपर्यो ।
ॅदुई साताका लागि सबै बन्द गरौं, तयारीमा जुटौं’
प्राडा. सुवास आचार्य
क्रिटिकल केयर विभाग प्रमुख, त्रिवि शिक्षण अस्पताल
महामारी फैलिएको अवस्थामा उपचारका लागि आईसीयू चाहिन्छ भनेर कुरा उठिरहेको छ । हाम्रो आईसीयूको क्षमता के छ ?
मलाई के लाग्छ भने यो सरकारको अप्रोच नै गलत छ । आईसीयू–आईसीयू भन्न
छोड्नुपर्छ । संकटको बेला पूर्वाधार खडा गर्ने होइन, भएको पूर्वाधारको सही ढंगबाट उपयोग कसरी गर्ने भनेर सोच्ने समय हो । आईसीयू भन्ने विषय त त्यो संकटको अन्तिम विन्दु हो । पहिला त बिरामीलाई संक्रमण हुन्छ र त्यो उपचारका लागि अस्पताल पुग्छ । उपचारका लागि त्यो कहाँ जाने तय हुनुपर्यो । अस्पतालसम्म लैजानका लागि एम्बुलेन्सको व्यवस्था के छ ? एम्बुलेन्स चलाउने ड्राइभरको सुरक्षाका लागि के व्यवस्था छ । उसले केवल मास्क लगाएको भरमा त बिरामी लिएर हिँड्न मान्दैन नि । अस्पताल पुगेर जाँच भइसकेपछि त्यो बिरामीको परीक्षण अवश्यक छ/छैन निर्क्योल हुन्छ । त्यसपछि बिरामीलाई हेर्ने चिकित्सकका लागि व्यक्तिगत सुरक्षा सामग्री छ/छैन त्यो हेर्नुपर्यो । रिपोर्ट नआएसम्म बिरामीलाई आइसोलेसनमा राख्नुपर्यो ।
दुई–तीनवटा अस्पताल पहिचान गरेर एकैपटक हजार–पन्ध्र सय मान्छेलाई आइसोलेट गरेर राख्न सक्ने व्यवस्था पहिला गर्नुपर्यो । त्यसपछि मात्रै त्यो मान्छेलाई घरमै आइसोलेट गरे पुग्छ कि अस्पताल भर्ना गर्नुपर्छ भन्ने हेर्ने हो । अस्पताल भर्ना भएका मध्ये ५ प्रतिशतलाई मात्र आईसीयू चाहिने हो । त्यसैले हामीले त मुख्य विषय नै सबैभन्दा तलको कुरालाई बनाइरहेका छौं । अस्पतालमा फिभर क्लिनिक र परीक्षण गर्ने व्यवस्थाचाहिँ छैन, सिधै आईसीयूको कुरा भइरहेको छ ।
निजी र सरकारी अस्पताल गरेर यहाँ प्राविधिक रूपमा त पूर्वाधार छन् नि हैन ? तिनीहरूबीच सहकार्यको सम्भावना कतिको देख्नुहुन्छ ?
यहाँ कुरा धेरै भयो तर, काम र सहकार्य भने शून्य छ । एक महिना अगाडि हामी आईसीयूमा काम गर्ने चिकित्सकहरूले सरुवा रोग महाशाखामा गएर महामारीका लागि तयारी गर्नुपर्छ भनेर भनेका थियौं । तर त्यसको सुनुवाइ नै भएन । हामीसँग परीक्षणका लागि प्रयोगशालाबाहेक केही तयार छैन । अहिले निजी अस्पतालमा गएर तपाईंले नर्सहरूलाई काम गर्नुपर्छ भन्नुभयो भने उहाँहरू काम छोडिदिन्छु भन्नुहुन्छ । पहिला दस हजार रुपैयाँ दिएर स्वयंसेवा भनेर काममा लगाउने, अहिले कोरोना आएपछि भने मास्कको भरमा उपचारमा खटिनुपर्छ भने कसले मान्छ ? मैले मेरै मातहतका चिकित्सक र नर्सलाई कुन नैतिकताका आधारमा काममा लगाउने ? अर्को कुरा आपत्कालीन अवस्थामा चाहिने औषधिहरूको जोहो हामीले गरेका छौं त ? अहिले त केवल आपत्कालीन शल्यक्रियामात्रै गरेर अन्य सबै प्रकारका शल्यक्रियाहरू रोकेर औषधिको जोहो गर्ने बेला पनि त भयो । विश्व स्वास्थ्य संगठनले कोभिडको उपचारका लागि केही औषधिहरू प्रमाणित गरेको छ । तर हामी कहाँ ती औषधि छ कि छैन भनेर थाहा छैन । अहिले त्यो निर्णय नगरे भोलि १०/२० जनामा कोरोना देखिसकेपछि गर्ने ? अब त संकटकाल घोषणा गरेर थोरैमा पनि दुई हप्ताका लागि सबै बन्द गरेर तयारीमा जुट्नुपर्यो ।
अस्पताल तथा स्वास्थ्यकर्मीहरू महामारी फैलिएको खण्डमा उपचार गर्नका लागि कत्तिको तयारी अवस्थामा छन् जस्तो लाग्छ ?
मैले अघि नै भनिसकें, तयारी शून्य छ । कुनै चिकित्सकले आफ्नो व्यक्तिगत ज्ञानका आधारमा केही गर्यो भने छुट्टै कुरा होइन भने कुनै पनि अस्पतालमा तयारी राम्रो छँदै छैन । कहीँ कतै पनि व्यक्तिगत सुरक्षा सामग्री नै उपलब्ध छैन । अहिलेसम्म त पूरै जथाभावी भइरहेको छ । मिडियामा भन्दा हामीसँग सबै तयारी अवस्थामा छ भने पनि वास्तविक रूपमा त्यो केही भए जस्तो मलाई चिकित्सकका रूपमा लाग्दैन ।
ॅआवागमन रोकौं, परीक्षण दर बढाऔं’
गगन थापा
पूर्वस्वास्थ्यमन्त्री
पूर्वस्वास्थ्यमन्त्रीको हैसियतमा अहिलेको अवस्थालाई कसरी हेरिरहनुभएको छ ? हाम्रो क्षमता कस्तो छ, कहाँनिर चुकिरहेका छौं ?
अहिले ३ विकल्प छन् । पहिलो, यात्राको आगमनलाई पूर्ण रूपमा रोक्ने हो । दोस्रो, चीनको वुहानबाट ल्याएको जस्तै बाहिरबाट आएकालाई सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा राख्ने । तेस्रो, नेपाल आइसकेकालाई होम वा सेल्फ क्वारेन्टाइनमा राख्ने हो । आजबाट हामीले फाराम वितरण गर्ने भनेका छौं । यो एकदमै गाह्रो छ । बाहिर पनि यो गर्न सकिएको छैन । भारतमा स्ट्याम्प लगाइन्छ । ऊ बाटोमा भेटियो भने दण्ड सजाय हुन्छ । यो चुनौतीपूर्ण छ ।
विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने भनिएको छ । सरकारले अब ध्यान दिनुपर्ने कुरा भनेको आगमनलाई रोक्नुपर्छ । अत्यावश्यक हवाई आगमनलाई त झनै कडाइ गर्नुपर्छ । स्थलगत नाकाहरूमा मुख्य ४ नाकाबाहेक पनि आउजाउ भइरहेको छ । भारतसँगको साना नाकाहरू पनि सुचारु छन् । हेल्थ डेस्क छैन । वरिपरि उपचार गर्ने व्यवस्था र प्रणाली पनि छैन । ४ वटाबाहेक सबै नाका बन्द गराउनुपर्छ ।
नागरिकलाई सभा सम्मेलन रोक्न आह्वान गरिएको छ । अब मान्छेको आउजाउ भेटघाट बन्द गराउनेतिर सोच्नुपर्यो । अलि बलपूर्वक पनि बन्द गराउन सकिने जति कुरा बन्द गराउनुपर्यो । कोही बिरामी भेटियो भने उसको सम्पर्कमा रहेका व्यक्तिलाई पनि ध्यान दिनुपर्यो । धेरैभन्दा धेरै तथ्यांक राख्नुपर्यो ।
सरकारले एउटा मात्रै मुखले बोल्नुपर्यो । सरकारका मन्त्रीपिच्छे कोरोनाका विषयमा फरक/फरक कुरा आएका छन् । हरेक दिन साँझ पत्रकार सम्मेलन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्दा राम्रो हुन्छ । स्वास्थ्य मन्त्रालयले शंका लागेकाहरूको परीक्षण गर्ने दर बढाउनुपर्यो । ल्याबको दायरा फराकिलो बनाउनुपर्यो । काठमाडौंभन्दा बाहिर पनि भाइरल परीक्षण गर्ने व्यवस्था गर्नुपर्यो । स्वास्थ्य संस्थाहरूमा संक्रमित राख्ने बेडहरूको व्यवस्था गर्नुपर्छ ।
उपत्यकाको कुनै मेडिकल कलेजलाई लिएर ६ महिनाका लागि लिएर कोराना हस्पिटल बनाउन सकिन्छ । कुनै निजी अस्पताल पनि सरकारले लिएर कोराना अस्पताल बनाउन सकिन्छ । जिल्लाका मेडिकल कलेज पनि लिएर अरू सेवा बन्द गराएर कोरोना अस्पताल बनाउन सकिन्छ । ७ वटै प्रदेशमा उपचार गर्ने व्यवस्था त्यसपछि मात्रै मिल्छ ।
स्वास्थ्यकर्मीलाई तालिम र भत्ता चाहिन्छ । स्वास्थ्य सामग्री किन्ने प्रक्रिया ढिला भइरहेको छ । स्वास्थ्यकर्मीसहित गैरस्वास्थ्यकर्मी पनि सँगै परिचालन गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले सूचना दिन पनि कञ्जुस्याइँ गरेको छ । नागरिकलाई सचेतनाको सूचना प्रशस्त दिनुपर्यो ।
तपाईंको निष्कर्ष लकडाउनमा जानुपर्ने स्थिति आएको छ भन्ने हो ?
एउटा पनि संक्रमण नदेखिएकाले केही दिनसम्म यतिकै कुरेर हेर्न सकिन्छ । तर अरू देशहरूको उदाहरणलाई हेर्दा चुप लागेर हेरेर बस्दा ढिला हुन सक्छ । त्यसैले अहिले हामीले गर्ने भनेको मान्छे/मान्छेबीचको भेटघाटलाई जति सकिन्छ कम गर्ने हो । मानिसहरू भेटघाट हुने भोज–भतेर, मठ–मन्दिर, चर्च सबै बन्द गर्नुपर्यो । सकेसम्म नेपाल आउनबाट रोक्ने प्रयासहरू गर्नुपर्छ । हस्पिटलहरूको अवस्था सुधार गर्नुपर्छ । हाम्रो स्वास्थ्य प्रणाली कमजोर छ । देशभरिका मान्छे काठमाडौं उपचार गर्न आउनुपर्ने अवस्था छ । यो कुरालाई हेरेर सरकारले परीक्षणको दायरालाई फराकिलो बनाउनुपर्छ । अहिले स्थानीय सरकारको भूमिका अत्यन्तै बढी छ । तर स्थानीय सरकारको परिचालन प्रभावकारी हुन सकेको छैन ।
ॅफोबियाका केस बढी आइरहेका छन्’
डा. सागरराज भण्डारी
निर्देशक, शुक्रराज ट्रपिकल तथा
सरुवा रोग अस्पताल
कोरोना संक्रमितको उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताललाई प्रमुख केन्द्र तोकिएको छ । तपाईंहरूको तयारी कस्तो छ ?
कोरोना एक भाइरस संक्रमण मात्रै हो । संक्रमण हुँदैमा मृत्यु नै हुन्छ भन्ने बुझाइ हुँदा अस्पतालमा फोबियाका केस बढी आइरहेका छन् । रुघाखोकी लाग्दैमा कोरोना नै भइसक्यो, परीक्षण गरिदिनु भन्दै दैनिक डेढ सयजना आइरहेका छन् । कोरोना भाइरस नयाँ पनि होइन, पशुपन्छीमा भइरहेको भाइरस हो । त्यही भाइरसले रूप परिवर्तन गरेर मानव शरीरमा प्रवेश गरेको हो । मानवबाट मानवमा सर्ने दर बढी हुन्छ जुन हावाबाट नभई थुकका छिटाबाट सर्छ । ८० प्रतिशतलाई यो रोग निको हुन्छ ५ प्रतिशत मात्रै शिथिल हुन्छन् जसलाई आईसीयूसहितको उपचार आवश्यक हुन सक्छ । कोभिडको आशंकामा अहिलेसम्म सरुवा रोग अस्पतालमा ५० जना बिरामी भर्ना भए । जसलाई हामीले आइसोलेसनमा राखेर उपचार र निगरानी गरेका थियौं । एक जनाबाहेक कसैमा यसको संक्रमण देखिएको छैन ।
तपाईंको अस्पतालको क्षमता के कति छ ?
हामीसँग सीमित आईसीयू र पूर्वाधार छन् । पाँचवटा आईसीयू छन् । आएजति सबैलाई हामी राख्न सक्दैनौं । अन्य ठूला अस्पताल र चिकित्सकले शंकास्पद बिरामी लिन मान्दैनन् । अस्पतालभरि संक्रमण फैलिन्छ भन्ने उहाँहरूको शंका छ । अहिले लक्षण भएका व्यक्तिभन्दा पनि विदेश जाने व्यक्ति तर स्वास्थ्य व्यक्ति कोरोना परीक्षण गरिदिनुपर्यो भन्दै आइरहेका छन् । दैनिक झन्डै दुई सयको हाराहारीमा आइरहेका छन् । परीक्षण त हामी गर्दैनौं, ओपीडीमा चिकित्सकले लक्षण भए नभएको हेर्छन् । लक्षण छैन भनेर ओपीडी कार्डमा लेखेर पठाउँछौं । सकेसम्म विदेश नजानुस्, विदेशबाट आउनुभएको हो भने १४ दिन घरकै आइसोलेसन भएर बस्नुस् भनेर परामर्श गरिरहेका छौं । सबैलाई परीक्षण गरेर साध्य छैन, गर्न आवश्यक पनि छैन ।
ॅहरेक दिनको डाटा छ, चाहिए दिन सक्छौं’
रामचन्द्र तिवारी
निर्देशक,
अध्यागमन विभाग
कोभिड–१९ को प्रभाव रोक्न अध्यागमनबाट के कस्ता प्रयास भए ?
कोरोना नभित्रियोस् भन्नका लागि हामीले मार्च १० बाट ५ वटा, मार्च १३ बाट ३ वटा र १४ बाट संसारभरिका अध्यागमनहरू रोकेका छौं । एयरपोर्टमा सबै देशको अध्यागमन रोकिए पनि स्थल मार्गबाट भारतीयहरू आइरहेका छन् । भारतका लागि पनि ४ मात्र नाका खोलिने व्यवस्था गरिएको छ । अत्यावश्यक अवस्थामा कोही आउनुपर्ने अवस्था भएमा उसलाई ७ दिनभित्र आफ्नो स्वास्थ्य जाँच गरेको रिपोर्ट ल्याउनुपर्ने व्यवस्था गरेका छौं । नेपालमा जनवरी, फेब्रुअरीमा अध्यागमनमा केही घटबढ भएको थिएन । लगभग एक लाखको हाराहारीमा पर्यटक भित्रिएका थिए । तर मार्चपछिबाट घट्यो । मार्चबाट एयरपोर्ट हुँदै भित्रिने पर्यटकको संख्या निकै घट्यो ।
बाहिरबाट आएकालाई कोरोनाको संक्रमण देखिएमा के गर्ने ?
त्यस्तो अवस्थामा विदेशीहरूका लागि १४ दिन सेल्फ क्वारेन्टाइन र नेपालीका लागि आफ्नै घरमा होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिनको डाटा आफैंले राख्नुपर्ने बताएको छ । जति पनि व्यक्तिहरू नेपाल भित्रिएका छन्, तिनीहरूको सम्पूर्ण रेकर्ड अध्यागमन विभागले राखेको छ । जस्तै– पछिल्लो समय कतारबाट २५० जना एकै पटक नेपाल आए । उनीहरूलाई कतार बस्न दिइएन, जसका कारण उनीहरू नेपाल आए । उनीहरूको स्वास्थ्य अवस्था के कस्तो छ भन्ने पनि रेकर्ड राखिएको छ । उनीहरूको रेकर्ड हामी सम्बन्धित निकायलाई दिने तयारीमा छौं ।
किन भारतीयहरूलाई रोकिएको छैन ?
२९ गतेसम्म भारतीयहरूलाई केही गरेनौं तर भारतबाट आउनेलाई नेपालमा चारवटा मात्र नाका खुला छ । स्वतन्त्र आवागमन भएका कारण पनि यस्तो भएको हो । यो कुरामा स्वास्थ्य मन्त्रालयको पनि ध्यानाकर्षण हुनुपर्दछ । तर अब भने एयरपोर्टबाट आउने भारतीयहरूलाई पनि रोक्ने कुरा छ ।
ॅसरकार जति जिम्मेवार, व्यक्ति पनि त्यति नै’
सागर दाहाल
प्रमुख, स्वास्थ्य
आपत्कालीन कार्यसञ्चालन केन्द्र
कोरोना नियन्त्रणका लागि सरकार के गरिरहेको छ ?
कोरोनाको संक्रमण रोक्ने कुरामा सरकार जति जिम्मेवार छ, त्यति नै व्यक्ति पनि जिम्मेवार हुन आवश्यक छ । त्यसका लागि मानिसहरूलाई यस विषयमा शिक्षित गर्न जरुरी छ । जस्तै– अब कोरोनाको शंका लागेर क्वारेन्टाइनमा बसेका मान्छेलाई कसरी निर्देशित गर्ने भन्ने कुरा पनि निश्चित हुनुपर्छ । अहिले नेपाल सरकारले एउटा प्रविधि विकास गरेको छ । जसमा बाहिरबाट आएकाहरूको ठेगाना उनीहरूले विमानस्थलमा भरेको फारामका आधारमा फिड गरिन्छ । जसलाई प्रदेश तथा स्थानीय तहलाई दिइन्छ र उनीहरूले अनुगमन गर्छन् ।
स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई कसरी तयार गरिरहेको छ ?
सरकारले अस्पतालहरूमा आइसोलेसनको व्यवस्था मिलाउने प्रक्रिया अघि बढाएको छ । अस्पतालहरूको तथ्यांकअनुसार प्रक्रिया अगाडि बढाइरहेका छौं । सम्भावित समस्याहरूलाई मध्यनजरमा राख्दै करिब १२०० वटा आइसोलेसनमार्फत सुविधा दिने व्यवस्था मिलाएका छौं । हामीलाई १७५ वटा आईसीयूको आवश्यकता देखिएको छ । जसमा चाहिँ अक्सिजनसहितको व्यवस्था गर्ने कुरा भइसकेको छ । जसमा १५० वटा आइसोलेसन वार्डहरू र १०० वटा आईसीयूहरू प्रदेश तहमा पनि निर्माणका लागि कुरा भइसकेको छ । यी कुराहरू हामीले नै गर्नुपर्ने हो जसमा हामी निरन्तर लागिरहेका छौं ।
मोबाइलमा फोन गर्दा बज्ने रिंग ब्याकटोनमै सूचना दिन सकियो भने अझ सूचना दिन सजिलो हुन्थ्यो होला कि ?
स्वास्थ्य मन्त्रालयबाट नेपाल टेलिकम र एनसेलसँग म्यासेज पठाउने कुरामा कुरा भइरहेको छ । सबैलाई म्यासेज पठाउने प्रयत्नमा छौं ।
बोर्डरमा मानिसहरूको आगमन खुला भयो, किन ?
बोर्डरमा भारतीय आवागमनका सन्दर्भमा स्वास्थ्य मन्त्रालयले पनि संवेदनशीलता अपनाइरहेको छ । खुला बोर्डरका कारण यस्तो भएको हो तर यस विषयलाई रोक्ने प्रयत्नमा छौं ।