You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
Page 3
मुख्य पृष्ठ

अत्यावश्यकबाहेकका सेवा चैत २१ सम्म बन्द

सरसफाइमा ध्यान दिन, भीडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक वस्तु अधिक सञ्चय नगर्न, हल्लाको पछि नलाग्न, चिकित्सक, विज्ञ र प्राविधिकको सल्लाह मान्न, धैर्यता र संयमता अपनाउन, सावधान हुन तर आतंकित नहुन सरकारको आग्रह
- दुर्गा खनाल,जगदीश्वर पाण्डे

(काठमाडौं) - सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीको घोषणाअनुसार अत्यावश्यक बाहेकका सरकारी, निजी र सामुदायिक तीनवटै क्षेत्रका कार्यालय, संघसंस्था बन्द हुनेछन् । सरकारी कर्मचारी र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीले भने यथावत् रूपमा आफ्नो काम गर्नुपर्नेर् छ ।
नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान आउँदो आइतबारदेखि चैत १८ गतेसम्म स्थगन गरिएको छ । लामो दूरीमा सञ्चालन हुने सबै प्रकारका सवारी साधन सञ्चालनमा पनि सोमबारबाट रोक लगाइएको छ ।
सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्रीको सम्बोधनमा उल्लिखित विषयलाई कार्यतालिका बनाएर तल्काल कार्यान्वयन गरिने बताए । सम्बोधनका विषयलाई अझै स्पष्ट गर्दै कार्यान्वयनमा लैजान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले मुख्य सचिव नेतृत्वको कार्यदललाई शुक्रबार नै निर्देशन दिएको छ । शनिबार कार्यदलले स्पष्ट खाका तयार पार्नेछ ।

नाकामा अनिवार्य स्वास्थ्य जाँच
सरकारले सीमा नाकामा स्वास्थ्य जाँच गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाएको छ । प्रधानमन्त्री ओलीले यससम्बन्धमा छिमेकी राष्ट्रहरूसँग समन्वय गर्ने बताएका छन् ।
उनले संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । यसका लागि मुलुकभरका अस्पतालबाट सेवा प्रदान, पर्याप्त औषधि र उपकरणको प्रबन्ध, आवश्यक जनशक्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको उनले बताएका छन् । ‘यस कार्यमा प्रत्यक्ष संलग्न चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी र सुरक्षा निकायलगायतका जनशक्तिलाई उचित प्रोत्साहन र उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवा सम्बन्धित कर्मचारी र सेवा प्रदायकलाई घरबाटै प्रदान गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

कालोबजारी गरे कडा कारबाही
सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजीसहित सबै प्रकारका सवारी साधन आवश्यकताअनुसार सञ्चालन हुनेछन् । निजी क्षेत्रसमेतको सहयोगमा खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य सामग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको प्रधानमन्त्री ओलीले जनाएका छन् । कालाबजारी गर्नेहरूप्रति भने कडा कारबाही हुने उनले बताएका छन् ।
‘अप्ठ्यारो समयको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता आपराधिक काममा कोही संलग्न भएको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाहीसमेत गरिने स्पष्ट पार्छु,’ प्रधानमन्त्री ओलीले सम्बोधनमा भनेका छन् ।

अर्थतन्त्रबारे कार्यक्रम छिट्टै
विश्वव्यापी महामारीले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसबारे कार्यक्रमहरू ल्याउने बताए । ‘अर्थ व्यवस्थामा परेको र पर्न सक्ने प्रभाव विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरू ल्याउने छ । उद्यमी तथा श्रमजीवीमा पर्न सक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील छ । त्यसलाई सम्बोधन गरिनेछ,’ ओलीले भनेका छन् ।


सार्क कोषलाई १० करोड
कोभिड–१९ रोकथामका लागि खडा भएको सार्क स्तरीय कोषमा नेपालबाट १० करोड रुपैयाँ योगदान गरिने प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा घोषणा गरेका छन् । सार्क मुलुकका सरकार/राष्ट्रप्रमुख र प्रतिनिधिबीच गत आइतबार भएको भिडियो कन्फरेन्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नोतर्फबाट १ करोड अमेरिकी डलर योगदान गर्ने जनाउँदै कोषको प्रस्ताव गरेका थिए ।
‘सार्क मुलुकमा यथोचित सहयोग गर्न सकियोस् भनेर कोषमा १० करोड रुपैयाँ योगदान गर्ने जानकारी गराउँछु,’ प्रधानमन्त्री ओलीले भने, ‘महामारीसँग जुध्न हाम्रा छिमेकी, क्षेत्रीय मित्र र अन्तर्राष्ट्रिय समुदायसँग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिबद्ध छौं ।’

अस्पताललाई जाँच नगर्ने छुट छैन
प्रधानमन्त्रीको सम्बोधनपछि बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिमा अस्पतालहरूले बिरामीलाई जाँच नगरी अन्यत्र रिफर गर्ने गरेको विषयमा शुक्रबार समीक्षा भएको छ । कुनै पनि अस्पताललाई आफूकहाँ आएका बिरामीलाई पर्याप्त नजाँची अन्यत्र पठाउन छुट नदिने समितिले निष्कर्ष निकालेको छ । ‘सार्वजनिक र निजी अस्पतालले कोरोना संक्रमित शंका लाग्नेबित्तिकै बिरामीलाई जाँच नगर्ने प्रवृत्ति निरुसाहित गर्नुपर्छ,’ सरकारका प्रवक्ता युवराज खतिवडाले भने, ‘ती अस्पताललाई स्वास्थ्य उपकरण
उपलब्ध गराउनुपर्छ ।’

मुख्य पृष्ठ

यी हुन् अत्यावश्यक सेवा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अहिले विशेष निर्णय गरी आंशिक रोक लगाइएका अन्तर्राष्ट्रिय उडान र पर्यटक आवागमनबाहेक अन्य सबै यसअघि अत्यावश्यक सेवा भनेर राजपत्रमा प्रकाशित सूचीअनुसारका सेवा हुन् । गत असोजमा प्रकाशन गरेको राजपत्रमा अत्यावश्यक सेवाका १९ वटा सूची छन् ।
अत्यावश्यक सेवामा डाँक, तार वा टेलिफोन, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात, हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत, हवाई, ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने काम पर्छन् । प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी, हातहतियार खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार र रक्षा व्यवस्थाको कुनै सेवा, सञ्चार, आन्तरिक सुरक्षा कार्यसम्बन्धी, खानेपानीको सञ्चालन तथा वितरण, पर्यटन, आवास, मोटेल, होटल रेस्टुराँ र रिसोर्टसम्बन्धी, पेट्रोलियम पदार्थ (एलपी ग्यास समेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण पनि अत्यावश्यक सेवामा पर्छन् । त्यस्तै, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन र एम्बुलेन्सलगायत सेवा, औषधि निर्माण तथा बिक्रीवितरण, फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, बैंकिङ, बिमा, विद्युत्, दैनिक उपभोग्य वस्तु (खाद्यान्न, दाल चामल, नुन–तेल) को पैठारी ढुवानी, भण्डार र वितरण, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना पनि अत्यावश्यक सेवा हुन् ।

दैनिक जीवन सञ्चालनसँग जोडिएका सपिङ सेन्टर, सुपर मार्केट, अन्य बजार कलकारखाना पनि नियमित रूपमा सञ्चालन हुने गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । ‘यस्ता क्षेत्रमा रोक लगाउँदा दैनिक जीवनयापन कष्टकर हुन सक्छ । आवश्यक सतर्कता अपनाएर सञ्चालन गर्न तथा मानिसलाई आवश्यक पर्दा मात्र त्यस्ता ठाउँमा जान सरकारले आग्रह गरेको छ,’ उनले भने ।

मुख्य पृष्ठ

'मुलुकले दृढ इच्छाशक्ति र उच्च मनोबल मागेको छ'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सम्भावित संक्रमण रोकथाम र नियन्त्रणका लागि मुलुकले सबैको दृढ इच्छाशक्ति र उच्च मनोबल माग गरेको बताएका छन् । मिर्गौला प्रत्यारोपणपछि साताअघि अस्पतालबाट फर्केका प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा आफ्नो स्वास्थ्य अवस्थाको समेत प्रसंग जोड्दै दृढ इच्छाशक्ति र मनोबलको कुरा गरेका हुन् । ‘मिर्गौला प्रत्यारोपण र उपचारपछि शीघ्र स्वास्थ्यलाभमा यहाँहरूले मेरो इच्छाशक्ति र उच्च मनोबल प्रमुख कारक रहेको चर्चा गर्दै आउनुभएको मैले सुनेको छु,’ उनले भने, ‘हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्छ भन्ने मैले विश्वास लिएको छु ।’
प्रधानमन्त्री ओलीले विपत्का बेला हुने एकताको प्रसंग झिके । ‘२०७२ को विनाशकारी भूकम्प र त्यसपछि सिर्जित प्रतिकूलतालाई हामीले दृढताका साथ सामना गर्‍यौं,’ उनले भने, ‘यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढतासहित, सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइले पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोगमा सम्भावित संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न आफूहरू सफल हुने विश्वास व्यक्त गरे ।

उनले भाइरसको सम्भावित संक्रमणबाट जोगिन निजी क्षेत्र, संघसंस्था, दुवै छिमेकी तथा अन्य मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय समुदायबाट हालसम्म प्राप्त सबै प्रकारका सद्भाव तथा सहयोगका लागि धन्यवाद दिएका छन् । उनले आगामी दिनमा समेत छिमेकी तथा अन्य मित्रराष्ट्र र शुभेच्छुक संस्थाहरूबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास गरेका छन् ।
प्रधानमन्त्री ओलीले नागरिकलाई आफ्नो कर्तव्य पूरा गर्न आह्वान गरेका छन् । उनले सम्भावित महामारीबाट जोगिने प्रयास गर्दा हुने असहजतालाई अन्यथा रूपमा नबुझन् आग्रह
गरेका छन् ।
‘महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दिनचर्यामा परिवर्तन गर्न जरुरी भएको छ,’ उनले भने, ‘यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग अर्को विकल्प पनि छैन ।’
ओलीले आफूलाई नागरिकले भरोसा गरेको प्रधानमन्त्रीका रूपमा चित्रित गरेका छन् । ‘तपार्इंहरूले भरोसा गर्नॅभएको प्रधानमन्त्रीको हैसियतले म आग्रह गर्छु’ भन्दै ओलीले कोभिड–१९ बाट बच्ने उपायहरूको बुँदागत चर्चा गरे । उनले नागरिकलाई सरसफाइमा ध्यान दिन, भीडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न, हल्ला वा अफवाहको पछि नलाग्न, चिकित्सक, विज्ञ र प्राविधिकहरूको सल्लाह पालना गर्न, धैर्यता, संयमता अपनाउन, सावधान हुन तर आतंकित नहुन अपिल गरेका छन् ।
प्रधानमन्त्री ओलीले संक्रमित मुलुकबाट नेपाल आएकाहरूलाई १४ दिन घरमै क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेका छन् । ‘सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबै दिदीबहिनी तथा दाजुभाइले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नॅहुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीबाट उत्पन्न जटिल अवस्थाका कारण सिंगो विश्व इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको उल्लेख गरेका छन् । नेपालमा यो संक्रमणको प्रत्यक्ष प्रभाव नपरे पनि जोखिमबाट ढुक्क हुने अवस्था नरहेको प्रधानमन्त्री ओलीको मूल्यांकन छ । ‘नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैं उच्च प्राथमिकतामा राखेको छु,’ उनले भने ।
प्रधानमन्त्री ओलीले मुलुकबाहिर रहेका नेपालीलाई परेको असुविधाबारे पनि सम्बोधन गरेका छन् ।
उनले विदेशमा रहने नेपालीलाई सम्बन्धित मुलुकमा रहेका कूटनीति नियोगबाट समस्या समाधानमा सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । ‘कोरोना भाइरसको महामारीका कारण तपाईंहरूलाई मुलुक फर्किन केही असुविधा परेको छ । यस घडीमा नआत्तिन र चिन्तित नहुन आग्रह गर्छु । आवश्यक पर्दा आफू रहेको देशको कूटनीतिक नियोगमा सम्पर्क राख्नु पनि आग्रह छ । हाम्रा नियोगहरूले तपाईंहरूका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँछु,’ उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले संसद्मा प्रस्तुत एवं एकमतले पारित गरिएको संकल्प प्रस्ताव र सर्वदलीय बैठकमा अभिव्यक्त विचारबाट समस्याको समाधानमा सिंगो राष्ट्र एकजुट रहेको भावना प्रकट भएको उल्लेख गरे । उनले यस अभियानमा सरकारका सबै अंग, नागरिक समाजका सबै संघ/संस्था र आमसञ्चार जगत्समेतलाई पारस्परिक सहयोगका साथ नेपाली राष्ट्रिय भावना प्रकट गर्न आह्वान
गरेका छन् ।

मुख्य पृष्ठ

सीमामा स्वयंसेवी युवा

भारतबाट आएका यात्रुको स्वास्थ्य जााच्न राखिएको डेस्कमा दुई स्वास्थ्यकर्मी मात्र छन्, दुईवटा थर्मोमिटरका भरमा । आवश्यक सामग्रीबिनै काम गरिरहेका स्वास्थ्यकर्मीलाई रुपन्देहीका युवाले साथ दिइरहेका छन् ।
- माधव ढुंगाना,ठाकुरसिंह थारू
भैरहवाको बुद्ध चोकस्थित हेल्थ डेस्कमा भारतबाट आएका व्यक्तिको जाँच गरिँदै । तस्बिर ः माधव/कान्तिपुर

(भैरहवा/बर्दिया) - भैरहवाका रमेश थापा सीमावर्ती दशगजास्थित बेलैया नाकामा राखिएको स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) मा दिनहुँ खटिन्छन् । बिहानदेखि रातिसम्म यात्रुको शरीरको तापक्रम नाप्छन् । अर्जुन गिरी, रामबहादुर बस्नेत, रमेश पोखरेल, नर्जुङ गुरुङ र नारायण हमाल पनि उनीसँगै खटिने गरेका छन् ।
उनीहरू सरकारी कर्मचारी होइनन् र यसरी खटिएबापत कुनै पारिश्रमिक पनि पाउँदैनन् । नाकामा कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न सरकारी टोलीले मात्रै नभ्याएपछि उनीहरू आफ्ना काम छाडेर हेल्थ डेस्कमा जुटेका हुन् ।
हेल्थ डेस्कमा सिद्धार्थनगर नगरपालिका र स्वास्थ्य कार्यालयले दुई जना स्वास्थ्यकर्मी पठाएका छन् । तिनले सबैको स्वास्थ्य जाँच्न भ्याउँदैनन् । त्यसमाथि उपकरण अभाव छ । यस्तोमा युवाको भरथेगले यात्रु र सरकारी टोलीलाई निकै सहज भएको छ ।
स्वयंसेवकका रूपमा खटिएका उनीहरूले आर्थिक सहयोग जुटाएर स्वास्थ्य कक्षमा आवश्यक पर्ने उपकरण र सामग्रीसमेत उपलब्ध गराइरहेका छन् । स्वास्थ्य जाँचमा सरकारीस्तरबाट दुईवटा डिजिटल थर्मामिटरबाहेक जाँच्नका लागि मास्क, ग्लोब, सेनिटाइजरजस्ता अत्यावश्यक आधारभूत साधन उपलब्ध गराइएको छैन । यहाँसम्म कि जाँचमा खटिएका कर्मचारीलाई पिउने पानीसमेत सरकारीस्तरबाट उपलब्ध छैन ।

‘हेल्थ डेस्कको यो हालत देखेपछि हामी खटिन थालेको हौं,’ थापाले भने, ‘स्वयंसेवा गर्दा आनन्द लागेको छ । घरपरिवार र छिमेकी पनि खुसी छन् ।’ बिहान साढे ६ देखि राति १० बजेसम्म आफूहरू समूहमै खटिने गरेको उनले बताए ।
स्थानीय युवाको समूहले सहायता कक्षमा आवश्यक कुर्सी, टेबल, पिउने पानी, बिजुली बत्ती मात्रै होइन ग्लोब, मास्क, थप डिजिटल थर्मामिटर र सेनिटाइजरसमेतको जोहो गरेको छ । उनीहरूको सक्रियतामा हरेक यात्रुको तापमान जाँच गरेपछि सेनिटाइजर प्रयोग गराइन्छ । सेनिटाइजर किन्नका लागि यिनै युवाको सक्रियतामा बेलहियावासीबाट आर्थिक सहयोग जुटाउने गरिएको छ ।
यसरी स्वयंसेवाका भरमा भारतबाट दिनहुँ नेपालतर्फ आउने १६ देखि २० हजार यात्रुलाई स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । सीमापारिका भारतीय जाँच टोली र सुरक्षाकर्मीका लागि पनि युवाको यो सक्रियताले लाभ पुर्‍याएको छ । उनीहरू हरेक दिन नेपालतर्फको कक्षमा आएर सेनिटाइजर प्रयोग गरेपछि आफ्नो काम सुरु गर्छन् । ‘घरीघरी यात्रुको भीडले पानी पिउने र खाना खान जानेसमेत फुर्सद हुँदैन,’ थापाले भने, ‘क्षण–क्षणमा कति जनाको परीक्षण भयो भन्दै तथ्यांक सोधिन्छ तर यहाँ अभिलेख राख्ने मान्छे पनि छैन ।’
युवाको सक्रियताप्रति सुरक्षाकर्मीहरू खुसी देखिन्छन् । ‘उनीहरूले गरेको यो योगदान प्रशंसनीय र उदाहरणीय छ,’ शुक्रबार सहायता केन्द्रको अवलोकन गर्न पुगेका सशस्त्र प्रहरी बल रूपन्देहीका एसपी तेज पोखरेलले भने, ‘सरकारीस्तरबाट लिनुपर्ने पहलकदमी व्यक्तिगत रूपमा स्रोत जुटाएर गर्नु ठूलो हो ।’
भैरहवा बजारको बुद्धचोकमा पनि शुक्रबारदेखि युवाले यस्तै सक्रियता देखाएका छन् । पेसाले इन्जिनियर रविकुमार रौनियार र वीरेन्द्र गुप्ताले यहाँ ‘कोभिड–१९ हेल्प डेस्क’ सञ्चालन गरेका छन् । मायादेवी च्यारिटेबल फाउन्डेसन र वास रूपन्देहीको सहकार्यमा यो काम थालिएको हो ।
कोभिड–१८ को सम्भावित संक्रमण रोक्न हरेक यात्रुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्दै जनचेतनामूलक कार्यक्रम डेस्कले सुरु गरेको छ । ‘भारतबाट आउनेलाई सिमानामा प्रारम्भिक चरणको जाँच गरिए पनि स्थानीयलाई सचेत पार्ने र तिनको अवस्था जाँच्ने काम कसैले गरेको छैन,’ रौनियारले भने, ‘अस्पताल नगएका र बाहिरी मुलुकबाट नआएकालाई पनि जाँच्नुपर्छ भनेर डेस्क सञ्चालन गरेका हौं ।’
रौनियार फाउन्डेसनका सञ्चालक हुन् भने गुप्ता सुशासन र युवा सशक्तीकरणको क्षेत्रमा कार्यरत संस्था वासका अध्यक्ष हुन् । उनीहरूले सुरु गरेको डेस्कमा शरीरको तापक्रम मापनका साथै रक्तचाप र मधुमेहको निःशुल्क परीक्षण गरी कोभिड–१९ को संक्रमण भए/नभएको प्रारम्भिक जाँच गर्ने गरिन्छ । चिकित्सकसहित आवश्यक जनशक्ति, उपकरण र जनचेतनामूलक सामग्री संस्थाले आफैं व्यवस्था गरेको छ ।
जाँचको क्रममा कोही शंकास्पद देखिए तत्कालै स्थानीय प्रशासन र अस्पतालसँग समन्वय गरेर सम्बन्धितलाई आइसोलेसनसहितको उपचारका लागि पठाइने गुप्ताले बताए । उनका अनुसार शनिबारदेखि चार/चार जना रहने गरी ४० वटा समूह बनाएर नगरमा घरदैलो अभियान सञ्चालन गरिनेछ । ‘कम्तीमा स्थानीय नगरवासी जागरुक भई निःशुल्क परीक्षण गरेर जाऊन् भन्ने हाम्रो चाहना हो,’ उनले भने । यो डेस्क तत्कालका लागि चैतभरि र आवश्यक परेमा त्यसपछि पनि सञ्चालन गरिने उनले बताए । डेस्कमा एक दर्जन युवा खटिएका छन् ।

सीमा बन्द गर्न पनि युवा
भारत आउजाउ गर्ने व्यक्तिहरूबाट कोभिड–१९ को प्रकोप भित्रिन सक्ने खतरा बढेपछि बर्दियाको बढैयाताल गाउँपालिकाले नेपाल—भारत सीमा बन्द गर्न युवा परिचालन गरेको छ । उक्त पालिकाको भारतसँग करिब १८ किलोमिटर खुला सीमा छ ।
भारतमा संक्रमण फैलिएसँगै स्थानीय प्रशासन र पालिकाले भारत आउजाउ नगर्न आग्रह गरेका थिए । पालिकाको आग्रहलाई दुवै मुलुकका सीमावर्ती नागरिकले अटेर गरेका कारण आउजाउ पूर्णरूपमा रोक्न युवा परिचालन गरिएको हो । पालिकाले वडा कार्यालयमार्फत् सीमामा स्वयंसेवकका रूपमा खट्न चाहने युवाको नामावली मागेको थियो । स्वयंसेवकका रूपमा छनोट भएका ६० युवा शुक्रबारदेखि सुरक्षाकर्मीसँगै सीमामा परिचालन भएका छन् । उनीहरू राति पनि गस्ती गरिरहेका हुन्छन् । गस्तीका लागि १२ स्थान तोकिएको छ ।
स्थानीय प्रहरी र स्वयंसेवक युवाको ६ टोलीले संयुक्त रूपमा खुला सिमानाको सूक्ष्म निगरानी गर्नेछन् । ‘कोभिड–१९ को संक्रमण भित्रिन सक्छ भनेर भारत आउजाउ नगर्न जति नै अनुरोध गरे पनि सुनुवाइ भएन, त्यसैले स्वयंसेवकका रूपमा युवा परिचालन गरिएको हो,’ बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले भने, ‘आजबाट प्रहरीसँग मिलेर युवाले सीमावारपार गर्न रोक्नेछन् । कानुनविपरीत हुने क्रियाकलाप पनि नियन्त्रण हुनेछ ।’
सीमामा शान्तिपुर, जमुनी, तमौलीपुर, पडरिया र कण्ठपुर नाका छन् । सीमा जोडिएका प्रत्येक वडाले सात/सात युवा र अन्य वडाले पाँच/पाँच जना स्वयंसेवक परिचालन गरेका हुन् । भारतमा कोरोनाको प्रकोप फैलिएका बेला पनि उक्त नाका भएर निर्बाध आउजाउ हुने गरेको थियो । सीमामा नेपाली सुरक्षाकर्मीको उपस्थिति कम भएका कारण रोक्न समस्या हुँदै आएको थियो ।
भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) को तीन/तीन किलोमिटर दूरीमा सुरक्षा पोस्ट छ । नेपालतर्फ भने १० देखि २० किलोमिटर दूरीमा यस्ता पोस्ट छन् ।
स्वयंसेवकका रूपमा खटिएका युवाहरूलाई खाजा, नास्ता खर्च र मास्क पालिकाले उपलब्ध गराउनेछ ।
‘विश्वभर संक्रमण फैलिरहेका बेला मुलुकलाई सहयोग गर्न जुटेका हौं, सबै जनाको प्रयासले संक्रमणबाट जोगिन सकिन्छ,’ शान्तिपुरका युवा मनोज थापामगर भन्छन्, ‘विपत्का बेला सबै मिलेर जुध्नुपर्छ ।’

Page 4
समाचार

कोरोनाबाट कसरी जोगिने ?

- कान्तिपुर संवाददाता

 

कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन नेपालले पनि केही तयारी गरेको छ । सरकारी तहमा गरिएका केही महत्त्वपूर्ण निर्णय र आग्रह आमनागरिकले पालना गरे कोरोनाको प्रकोपबाट धेरै हदसम्म जोगिन सकिन्छ ।
यस संक्रमणलाई ‘आयातित संक्रमण’ का रूपमा पनि हेरिएको छ । नेपालमा पनि चीनबाटै फर्किएका एक युवकलाई यसको संक्रमण देखिएर निको भएको थियो । तसर्थ स्वदेशमा रहेका भन्दा विदेशबाट आएका स्वदेशी तथा विदेशी नागरिक अलिकति सतर्क भएमा संक्रमणको जोखिम कम गर्न सकिन्छ ।
सबैभन्दा पहिलो कुरा त विदेशबाट नेपाल आएकाहरूले होम वा सेल्फ क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्छ ।
सरकारी संयन्त्रले अनुगमन गरेको छैन वा थाहा पाउँदैन भनेर क्वारेन्टाइनमा नबस्नु भनेको सबैभन्दा पहिले आफू र आफ्नो परिवारलाई संकटमा पार्नु हो । यात्रा गर्दा कोरोनाबाट संक्रमित भए पनि त्यसको लक्षण नदेखिन सक्छ । त्यसैले, क्वारेन्टाइनमा बस्नु सबैका लागि हितकर हुन्छ किनभने सुरुमा संक्रमणको लक्षण नदेखिए पनि १४ दिन वा त्यसभन्दा पछिसम्म संक्रमण देखिन सक्छ । त्यस अवधिमा अरूमा भाइरस सर्न सक्छ ।
सेल्फ क्वारेन्टाइन भनेको के हो र कसरी बस्ने ?
– हावा प्रशस्त चल्ने कोठामा एक्लै बस्ने ।
– आफूले प्रयोग गरेको र गर्ने सामग्री अरूलाई छुन र प्रयोग
गर्न नदिने ।
– घरका अरू मानिसबाट कम्तीमा एक मिटर टाढा बस्ने ।
– कसैको सहायता चाहिए एक जना स्वस्थ सदस्यसँग मात्रै सम्पर्क गर्ने र त्यस्ता व्यक्तिले पनि अरू सदस्यसँग सम्पर्क नगर्ने ।
– यतिबेला घरमा अरू मानिसलाई आउन सकेसम्म नदिने । फोन वा सामाजिक सञ्जालमार्फत् मात्र भेटघाट गर्ने ।
– घरमा एउटा मात्र शौचालय छ भने आफूले प्रयोग गरिसकेपछि त्यसमा राम्रोसँग ‘डिसइफेक्टेन्ट’ (बजारमा उपलब्ध घरमा प्रयोग गरिने निर्मलीकरण सामग्री) ले सफा गर्ने । त्यसपछि मात्रै अरूले प्रयोग गर्ने ।
– घरमा बस्दा मास्क लगाउने र लगाइसकेका मास्कलाई पोको पारेर राख्ने । जथाभाबी नफाल्ने ।
– क्वारेन्टाइनमा बस्दा रुघाखोकी लागे र ज्वरो आए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने । काठमाडौंमा भएको खण्डमा टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा
जाँदा राम्रो ।
रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमण भएको ठान्नु हुँदैन । हालसम्म नेपालमा कोरोना संक्रमित नदेखिएकाले विदेशबाट आएका व्यक्तिसँग सम्पर्क छैन भने रुघाखोकी वा ज्वरो आउँदैमा डराइहाल्नु पर्दैन तर आफूलाई लागेको रुघाखोकी अरूलाई नसरोस् भन्नका लागि घरबाहिर ननिस्किनु राम्रो ।
सामान्य रुघाखोकी र कोभिड–१९ मा के फरक ?
– सामान्यतः सामान्य रुघाखोकी र कोरोनाका लक्षणमा धेरै अन्तर छैन तर कोरोना संक्रमण भएका मानिसलाई रुघाभन्दा बढी सुक्खा खोकी लाग्छ । १०२ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउँछ र सास फेर्न समस्या हुन्छ ।
– सामान्य रुघाखोकी पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ तर रुघाखोकी सर्ने दर कोरोनाको सर्ने दरभन्दा निकै कम छ ।
– रुघाखोकीले बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा पहिल्यैदेखि स्वास्थ्य समस्या भोगरिहेकालाई बढी असर गर्छ । यसले हालसम्म बालबालिका तथा गर्भवतीलाई धेरै असर गरेको देखिँदैन ।
– त्यसैले आफू वा आफ्ना परिवारका सदस्यले संक्रमण देखिएका देशबाट फर्किएका मानिस वा तिनका परिवारका मान्छेसँग घुलमिल गरेका छैनन् भने आत्तिनु पर्दैन ।
– ज्वरो आएको छ, सुक्खा खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चाहिँ स्वास्थ्य संस्थामा गएर जचाउनु उचित हुन्छ ।
– आफूलाई कोरोनाकै संक्रमण भए जस्तो लाग्छ भने १११५ नम्बरमा फोन गर्नुहोस् । त्यहाँबाट सल्लाह पाइन्छ ।
– धेरै समस्या भएको छ र काठमाडौंमा हुनुहुन्छ भने टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल जानुहोस् । त्यहाँ जान नसकिने भएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।
कोभिड–१९ बाट जोगिन के गर्ने, के नगर्ने ?
– सबैभन्दा पहिला, आफूलाई कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि हाललाई अत्यावश्यक काम पर्दाबाहेक घरबाट बाहिर ननिस्किनु नै राम्रो ।
– घरबाट बाहिर ननिस्किई नहुने भएमा भीडभाडमा सकेसम्म नजाने, भेट्ने मानिससँग हात नमिलाउने र उसबाट कम्तीमा पनि एक मिटर टाढा बस्ने ।
– बाहिरबाट घर फर्किएपछि वा सम्भव भएसम्म समय समयमा साबुन पानीले मिचीमिची हात धुने । हात धुन सम्भव नभए
७० प्रतिशतभन्दा बढी एल्कोहल भएको सेनिटाइजर हातमा राम्रोसँग दल्ने ।
– बजारमा मास्कको हाहाकार भएकाले आफूलाई रुघाखोकी र ज्वरो आएको छैन भने मास्क नलगाउने ।
– सामान्य रुघाखोकी लागेको पुष्टि भएका बिरामीबाट पनि
टाढै बस्ने ।
– ६० वर्ष पुगेका वा श्वासप्रश्वास, मुटुरोग, मधुमेह (चिनी
रोग), उच्च रक्तचाप भएका मानिस सबैभन्दा बढी होसियार हुनु जरुरी छ ।
(विश्व स्वास्थ्य संगठन तथा विभिन्न
मेडिकल जर्नलमा प्रकाशित लेखमा आधारित ।)

समाचार

सरकारको थप तयारी

- मातृका दाहाल

(काठमाडौं) - कोभिड–१९ लाई भित्रिन नदिन र त्यसको सम्भावित प्रकोप रोकथाम गर्न सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई एकसाथ दुई घेरामा राखेर खटाउने भएको छ । संक्रमण बढेर ‘लकडाउन’ सम्म गर्नुपर्ने अवस्था आएमा स्वास्थ्यकर्मीलाई ‘फ्रन्टलाइन’ र त्यसपछि सुरक्षाकर्मीलाई राखेर अगाडि बढाउने सरकारको योजना छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै सम्भावित संक्रमण रोक्न सरकारले सबै किसिमको तयारी गरेको बताएका छन् । फिल्डमा खटिनेका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहित अग्रभागमा स्वास्थ्यकर्मी, सेल्फ क्वारेन्टाइन र लकडाउन कार्यान्वयन गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी ‘ब्याक सपोर्ट’ का रूपमा खटिने गरी तयारी गरिएको छ । नेपाल–भारत सीमा नाका हुँदै आवतजावत गर्नेको भरपर्दो र प्रभावकारी स्वास्थ्य जाँचमा विशेष ध्यान दिइनेछ ।
बिहीबार नेपाली सेनाले कोभिड–१९ विरुद्धको तयारीका लागि होम सेल्टर र लकडाउनको तयारी गर्नुपर्ने सुझाव दिएको थियो । त्यसमा अन्य सुरक्षा निकायले पनि सहमति जनाएका थिए । यसलाई गृहमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तिम रूप दिएर कार्यान्वयनका लागि तयारी हालतमा राख्नेछ । त्यसअघि सेनाले मंगलबार र बुधबार जंगी अड्डा परिसरमै कोभिड–१९ विरुद्ध प्रतिकार्य योजनाअन्तर्गत पूर्वाभ्यास गरेको थियो । प्रहरी र सशस्त्रले पनि
आफ्ना स्वास्थ्यकर्मी र फौजलाई आन्तरिक प्रशिक्षण दिनुका साथै आवश्यक परे कसरी फिल्डमा
खटिने भनेर रिहर्सल भइरहेको जनाएका छन् ।
लकडाउन भएको अवस्थामा फिल्डमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि थप १० हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) खरिद प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयले जानकारी दियो । नेपालभित्र नपाइने उपकरण विदेशबाट खरिद गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइसकिएको गृहका अधिकारीले स्पष्ट पारे ।
‘अहिलेकै अवस्थामा लकडाउन गर्नुपर्ने स्थिति छैन तर त्यसको तयारी गरिरहेका छौं,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलले भने, ‘संक्रमण भित्रिन नदिन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ ।’ उनका अनुसार लकडाउन भए सरकारी वा अधिकारप्राप्त व्यक्तिको अनुमतिबिना कोही पनि सडकमा निस्कन पाउने छैनन् । ‘कर्फ्युका बेला जसरी सुरक्षा व्यवस्थापन गरिएको हुन्छ, त्यही रूपमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सम्बन्धित स्थानमा तैनाथ हुनेछन्,’ उनले भने, ‘यसमा आमनागरिकको पनि साथ र सहयोग चाहिन्छ ।’
नाका निगरानी गर्न ॅएप’
नेपाली सेनाले नाकाका गतिविधि निगरानी गर्न आन्तरिक रूपमा ‘एप’ निर्माण गर्ने भएको छ । नेपाल–भारतका ४१ सीमानाकामा आउजाउ गर्नेहरूको अवस्थालाई निगरानी गर्न एप बनाउन लागिएको हो । सेनाले अहिले ती सबै नाकामा आफ्ना स्वास्थ्यकर्मी खटाएर काम गरिरहेको छ । सेनामा हाल करिब २ हजार ३ सय स्वास्थ्यकर्मी छन् ।
‘नाकाबाट कस्तो व्यक्ति कसरी आएदेखि कता जान्छन् भन्नेसम्मको सूचना राख्ने र त्यसलाई केन्द्रबाट पनि अनुगमन गर्न सक्ने व्यवस्था मिलाइएको छ,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘एपले दैनिक कामको डाटा ट्रेस गर्छ र त्यसलाई गुगल डकमार्फत हेर्न सकिन्छ ।’ उक्त एप केही दिनमै तयार हुने उनले बताए । कोभिड–१९ रोकथामका लागि आवश्यक सामग्री खरिद र पूर्वतयारी गर्न सरकारले सेनालाई १० करोड रुपैयाँ दिएको छ । सेनाले व्यवस्थापन तथा युद्ध कार्य महानिर्देशनालयको नेतृत्वमा ‘विपद् व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याइसकेको छ । महानिर्देशनालयले सैनिक मुख्यालयदेखि विभाग, निर्देशनालय, पृतना, गण, गुल्मसहित जिल्लास्तरका युनिटमा समेत तयारीमा रहन निर्देशन दिइसकेको छ । महानिर्देशनालयले चीनबाट मगाउनुपर्ने सामग्रीको सूची तयार पारिरहेको छ ।
तीन हजार पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) युनिटलाई वितरण गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए । जिल्लास्तरमा समेत सेनाले विभिन्न ठाउँमा आइसोलेसन वार्ड तयार गरिसकेको छ । ‘अहिले प्रारम्भिक चरणकै काम गरिरहेका छौं,’ उनले भने, ‘आवश्यक पर्दा ९६ हजार सैनिक जुनसुकै बेला पनि खटिन तयार छन् ।’

समाचार

जो इटाली फर्कन चाहँदैनन्

पोखरा घुमिरहेका इटालीका महिला भन्छन्, ‘यति बेला नेपालमै ठीक छ’
- दीपक परियार
पोखराको लेकसाइडमा ज्योभना तोमासी (बायाँ) र डोनिनी डोनाटेला । तस्बिर ः दीपक/कान्तिपुर

(पोखरा) - फेवातालको आडैमा बसेर दुई इटालियन महिलाले एक नेपाली व्यवसायीसँग सल्लाह मागे, ‘सिक्लेस ठीक कि धम्पुस ?’ व्यवसायीले कास्कीका दुवै पर्यटकीय गाउँसम्म पुग्न लाग्ने समय, खाने, बस्ने खर्चको विवरण सुनाए ।
५९ वर्षीया ज्योभना तोमासी ‘ट्राभल ब्लगर’ हुन् । उनी वर्षमा मुस्किलले दुई महिना इटाली बस्छिन् । अरू समय विदेश घुमेरै बिताउँछिन् । किताब लेख्ने तयारीमा रहेकी उनी नेपाल आएको तेस्रोपल्ट हो, पोखरा दोस्रोपल्ट । मार्च ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झर्दा उनको ज्वरोबाहेक केही नापिएन । नत स्वस्थ रहेको प्रमाणपत्र नै मागियो । मार्च ६ मा उनीसँगै जोडिइन् ६९ वर्षीया डोनिनी डोनाटेला । श्रीलंका बसेर आएकी उनले स्वस्थ भएको प्रमाणपत्र विमानस्थलमा बुझाइन् । क्वारेन्टाइनमा बस्न दुवै जनालाई भनिएको थिएन । कोभिड–१९ को संक्रमणका कारण उनीहरूको देश ‘लकडाउन’ गरिएको छ ।
विश्व कोभिड–१९ को त्रासमा रहँदा दुवै जना काठमाडौंमा फुक्काफाल घुमे । १० दिन काठमाडौंमा बिताएर चितवन हान्निए । तीन दिन सौराहा वरपर बिताए । बुधबार पोखरा आए । दुवै गुम्बामा पुग्छन् । प्रार्थना गर्छन् । डाँडामा पुगेर ध्यानमा मग्न हुन्छन् । नेपाल आउनुअघि १५ दिन सेल्फ क्वारेन्टाइनमा बसेको ज्योभनाले सुनाइन् । त्यसअघि उनी १५ दिन ओमनमा बिताएर आफ्नो देश पुगेकी थिइन् ।
ज्योभनाको अप्रिल ३ सम्म र डोनिनीको अप्रिल ५ सम्म भिसा छ । दुवैको उडान मार्च २६ मा छ । थाई एयरलाइन्सबाट बैंकक हुँदै इटाली पुग्ने योजना डामाडोल भएको छ । कोभिड–१९ संक्रमणको जोखिमकै कारण थाई एयरलाइन्सले उडान बन्द गरिसकेको छ । नेपालबाट इटालीको सीधा उडान छैन । ज्योभनाले भनिन्, ‘हामी नेपाल छोड्न सक्दैनौं । इटालीभन्दा यहीं सुरक्षित छ ।’
एक महिना भिसा थप्ने सोच बनाएका उनीहरूसँग समय उपयोग गर्ने आफ्नै योजना छ । नजिकैबाट हिमाल देखिने कुनै गाउँ जाने, प्रकृतिसँग रमाउने, लेख्ने र मानिसबाट टाढा बस्ने । लामो समय नेपाल नबस्ने सोचले आएकी ज्योभनाले ल्यापटप बोकिनन् । हातैले लेख्न बानी पार्ने तयारीमा छिन् ।
आफ्नो देशबाट पैसा पठाउने कार्यालय पनि बन्द भएकाले खर्च अभाव हुन सक्ने डर पनि उनीहरूसँग छ । दुवैले इटालीमा चिन्ता गर्नुपर्ने कोही छैन । बूढा बुबाआमा छैनन् । छोराछोरी सेल्फ क्वारेन्टाइनमा सुरक्षित छन् । उनीहरूसँग दिनदिनैजसो फेसबुकमार्फत कुराकानी हुन्छ । नेपालमै बस्न
छोराछोरीले सुझाउँछन् । ‘मेरो देशबाहिर बस्ने बानी परिसक्यो,’ डोनिनीतिर हेर्दै ज्योभनाले भनिन् । ‘मलाई पनि यहाँ बस्न कुनै समस्या छैन,’ डोनिनीले भनिन् ।
पोखरामा पर्यटकको चाप कम भएपछि खाद्यान्नको खपत कम भएको छ । होटलबाट कम फोहोर निस्किएका छन् । तालतिर सोझिएका ढल बग्न छाडेका छन् । फेवाताल अरू बेलाभन्दा सङ्लो देखिएको छ । तालको पानी हातैले उघाएर पिउन मिल्नेजस्तो देखिन्छ । ज्योभना र डोनिनी बस्ने इटालीको सहर ब्रेसियामा दुई ठूला ताल छन्, गर्दा र इसियो । फेवाताल यी दुईलाई इसियोजस्तै लाग्छ । फेवाको मुहान हर्पन खोलाजस्तै छ, ओग्लियो नदी । पहाडको बीचमा रहेको फेवा हेरेर इसियोको तिर्सना मेट्छन् ।
यहाँका नेपालीले दुवैको मन जितेका छन् । ‘पोखराका मानिस आत्मीय छन्, मित्रवत् व्यवहार गर्छन्,’ ज्योभनाले भनिन्, ‘कोरोना फैलिएको देशबाट आएको भने पनि छिछि र दुरदुर गर्दैनन् । यो एकदमै राम्रो पक्ष हो ।’ नेपालमा सबै निस्फिक्री घुमिरहेको देख्दा डोनिनी आफूलाई सुरक्षित महसुस गर्छिन् । नेपालीले पर्यटकलाई गर्ने व्यवहारले आफूलाई सुरक्षित महसुस गराएको उनले बताइन् । नेपाल सरकारले सही सूचना दियोस् भन्ने उनीहरू चाहन्छन् । ‘सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हो भने जानकारी गराइदिए राम्रो,’ दुवैले भने, ‘बेलाबेला स्वास्थ्य परीक्षण पनि गरिरहनुपर्छ ।’


भिसा थप्ने बढे
पोखराको अध्यागमन कार्यालयका कर्मचारीलाई यतिखेर भ्याइनभ्याइ छ । कार्यालय बन्द हुने भयले भिसा अवधि थप्न आउने विदेशी पर्यटक बाक्लिएका छन् । कार्यालयका निमित्त प्रमुख चेतराज आचार्यका अनुसार शुक्रबार ४० विदेशी पर्यटकले भिसा अवधि थपे । न्यूनतम १५ दिन म्याद थप गर्दा विदेशीले दिनको ३ डलर बुझाउनुपर्छ । नेपाल प्रवेशपछि वर्षमा १ सय ५० दिन भिसा थपेर विदेशी पर्यटक बस्न पाउँछन् ।
बिहीबार ५६ विदेशीको भिसा अवधि थपिएको थियो, जसमा १० जना चिनियाँ थिए । अमेरिका, युरोप, कोरियाका नागरिकले पनि भिसा अवधि थपिरहेका छन् । भिसा थप्नेमा भारतीय नाकाबाट आउने पर्यटक धेरै छन् । भारतमा पर्यटकले एक वर्षको भिसा पाउँछन् तर १ सय ६० दिनपछि मुलुक छाडेर पुनः प्रवेश गर्नुपर्छ । १५ दिनको भिसा लिएर नेपाल आएका पर्यटक भारत फर्कन पाएका छैनन् । ‘आफ्नो देशभन्दा नेपाल नै सुरक्षित छ भनेर यहीं बस्ने खोज्ने पर्यटक धेरै छन्,’ आचार्यले भने, ‘सीधा उडान नभएर आफ्नो देश फर्कन नपाएको गुनासो गर्ने पनि छन् । कतिपयले भने पैसा सकिएको भन्दै निःशुल्क भिसा थप्नुपर्ने माग गरेका छन् ।’ उनले निःशुल्क भिसा थपको व्यवस्था नरहेको बताए ।

Page 5
समाचार

हात नधोए सामान किन्न पाइँदैन

- कान्तिपुर संवाददाता
शुक्रबार संखुवासभाको खाँदबारीस्थित पसलमा पस्नुअघि हात धुँदै युवती । तस्बिर ः दीपेन्द्र शाक्य/कान्तिपुर

(संखुवासभा) - खाँदबारी बजारस्थित बराल किराना पसलबाहिर बाल्टिनमा पानी र छेउमा साबुन राखिएको छ । पसल पुग्ने जोकोही ग्राहकले पहिले साबुन पानीले अनिवार्य हात धुनुपर्छ अनि मात्र सामान खरिद गर्न पाइन्छ । पसल सञ्चालक पोगषराज बरालले टाढाबाट अपरिचित ग्राहकसमेत आउने भएकाले केही दिनयता यस्तो व्यवस्था गरिएको बताए । ‘सामान किन्न आउनेले पहिले हात राम्ररी नधोएसम्म पैसा लिन्नँ, सामान पनि दिन्नँ,’ उनले भने ।
सबै व्यापारीले पसलछेउमा साबुन पानीको व्यवस्था गर्ने हो भने ग्राहक र व्यापारी दुवै कोभिड–१९ को जोखिमबाट सुरक्षित हुने उनले बताए । ‘ग्राहकले हात धुँदा ढुक्क भइँदोरहेछ, आत्मबल बढ्छ,’ उनले भने । खाँदबारीमा करिब तीन दर्जन व्यापारीले पसलअगाडि बरालले जस्तै व्यवस्था मिलाएका छन् । सामान किन्न पुगेकी मेनुका विकले यस्तो व्यवस्थाले ढुक्क भएको बताइन् । ‘बाहिरबाट जाँदा विभिन्न सामान छोइएको हुन्छ, उनले भनिन्, ‘हात धोएर सामान लिँदा ढुक्क लाग्छ ।’
सदरमुकाममा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाले समेत विभिन्न खाले सचेतना अपनाउन थालेका छन् । सेवाग्राही र कर्मचारीलाई हात धोएर, सेनिटाइजर प्रयोग गरेर र मास्क लगाएर मात्र कार्यालयभित्र प्रवेश गराउन थालिएको छ । सेवाग्राहीको चाप बढी हुने भएकाले सजगता अपनाउन यस्ता सामग्री अनिवार्य प्रयोग गर्न लगाइएको नबिल बैंक खाँदबारीका प्रमुख सन्तोष विमलीले बताए । गाउँपालिकामा पनि स्वास्थ्य स्वयंसेविकामार्फत् कोभिड सचेतनासम्बन्धी प्रचारप्रसार गर्न निर्देशन दिइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले बताए । जिल्ला अस्पताल खाँदबारीमा भने पाँच शय्याको आइसोलेसन कक्ष तयार गरिएको छ ।

क्वारेन्टाइनका लागि भवन दिने प्रस्ताव
एकल महिला समूहले क्वारेन्टाइनका लागि छहारी भवन उपलब्ध गराउने प्रस्ताव गरेको छ । मानव अधिकारका लागि महिला, एकल महिला समूहका तर्फबाट संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका ईश्वर पोखरेलसामु प्रस्ताव गरेका हुन् । एकल महिला समूहका लागि विभिन्न जिल्लामा बनाइएका १० वटा छहारी भवन सरकारलाई उपलब्ध गराइने जानकारी दिँदै थापाले ती भवनमा ३ सय ६५ जनालाई राख्न सकिने बताइन् ।

समाचार

बुटवलमा पनि कोरोना अस्पताल

- कान्तिपुर संवाददाता

रूपन्देही (कास)– कोभिड–१९ का शंकास्पद बिरामीको उपचारका लागि रुपन्देहीको रामनगरस्थित बन्द अवस्थामा रहेको धागो कारखानामा कोरोना अस्पताल सञ्चालन गर्न लागिएको छ । बुटवल उपमहानगरको अगुवाइमा २४ घण्टाभित्र सञ्चालनमा ल्याउने गरी १०० शय्या क्षमताको आइसोलेसन अस्पताल बनाइने उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए ।
खाली हलमा शय्या राखेर शनिबार साँझसम्म अस्पताल सञ्चालन गरिने उनले जनाए । आवश्यक शय्या निजी अस्पतालले उपलब्ध गराउनेछन् । फलामका ३० वटा शय्या कारखानामै छन् । लुम्बिनी प्रादेशिक अस्पतालले प्राविधिक सहयोग गर्नेछ । चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सय थान एप्रोन काठमाडौंबाट ल्याउन लागिएको सुवेदीले जानकारी दिए ।

भरतपुरको सञ्चालनमा आयो
भरतपुर महानगरपालिकाको पहलमा बनाइएको ५० शय्याको विशेष अस्थायी अस्पतालको शुक्रबार उद्घाटन गरिएको छ । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले चितवनको प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा निर्माण भएको उक्त अस्पतालमा सेवा आरम्भ भएको घोषणा गरे । सो क्रममा उनले सरकारले चिकित्सक र बिरामी दुवैका लागि व्यक्तिगत सुरक्षा सामग्रीको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन् ।
अस्पताल व्यवस्थापन समितिका संयोजक डा. भोजराज अधिकारीका अनुसार संक्रमणको आशंका भएका व्यक्ति विभिन्न चरण पार गरेर अस्पतालमा पुग्नेछन् । ‘जिल्लाका २४ वटा साना अस्पताल, दुईवटा शिक्षण अस्पताल, भरतपुरको सरकारी अस्पताल र क्यान्सर अस्पतालमा आकस्मिक कक्षभन्दा बाहिर पनि ज्वरो मापन गर्ने केन्द्र छन् । शंकास्पद लक्षणका व्यक्तिलाई त्यहाँ हेरिन्छ । यहाँ पठाउनुपर्ने हो/होइन उनीहरूले विचार गर्नेछन्,’ डा. अधिकारीले भने ।
अस्पतालको ओपीडीमा आउनुअघि पनि गेटमा नै सुरक्षात्मक उपाय अपनाइने उनले बताए । अस्पतालले आशंका निवारणका लागि विभिन्न चिकित्सकको मोबाइल नम्बर सार्वजनिक गरेको छ । संक्रमणको आशंका लागेकाले सिधै चिकित्सकलाई सम्पर्क गरेर कुरा राख्न सक्नेछन् ।

 

समाचार

जहाँ 'लकडाउन' छ

नेपाली कामदार प्रवासमा ‘लकडाउन’ बाट सिर्जित समस्या झेलिरहेका छन्
- कान्तिपुर संवाददाता

(काठमाडौं) - कुवेतले फागुन २९ देखि दुई सातासम्म लागू हुने गरी ‘लकडाउन’ गरेको छ । उसले सबैलाई सार्वजनिक बिदा दिएको छ । अत्यावश्यक कामबाहेक कसैलाई कार्यालय आउन र बाहिरी क्षेत्रमा हिँड्न रोक लगाएको छ ।
त्यहाँ सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द छन् । कार्गोका उडान भने जारी छन् । कुनै देशले आफ्ना नागरिक लैजान चाहेमा विमानस्थल निश्चित समयका लागि खुला गरिएको छ । रेस्टुरेन्ट र क्याफेमा भेला हुन रोक लगाइएको छ । ‘रेस्टुरेन्टभित्र प्रवेश गर्न पाइँदैन, ग्राहक गाडीमै बस्छन्, हामी गएर अर्डर लिन्छौं,’ कुवेतको कफी सपमा कार्यरत वसन्त थापाले भने, ‘ठूला व्यापारिक केन्द्र (मल) बन्द गरिएको छ ।
खाद्यान्न पाउने ठूला मल र साना पसल (वकला) भने खुलै छन् ।’ उनका अनुसार सामान खरिद गर्न समय दिइएको छ तर दुई जनालाई सँगै हिँड्न दिइएको छैन ।
जिम, खेलकुद, स्वास्थ्य क्लब, विवाह हल बन्द छन् । सार्वजनिक बस बन्द गरिएको छ तर
ट्याक्सी चल्न दिइएको छ । हरेक गभर्नर क्षेत्रमा एउटा मात्रै बैंक खोल्न पाइनेछ । एटीएमहरू भने खुला रहनेछन् ।
यस्तै मलेसियाले बुधबारदेखि १४ दिनका लागि ‘लकडाउन’ गरेको छ । सम्पूर्ण अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन् । मलेसियाका प्रमुख सहर सुनसान छन् । सडकमा गाडी र मोटरसाइकल अलि–अलि चलेका छन् । ‘अत्यावश्यक सेवा सबै सञ्चालन गरिएको छ,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘जुन काम अफिसमा नगई हुँदैन, त्योबाहेक घरमै बसेर
गर्ने हो ।’
सार्वजनिक बस सञ्चालन गर्न दिइएको छ । खाद्य सामग्री उत्पादन गर्ने कम्पनी सुचारु छन् । ‘खाद्य सामग्रीका पसल खुलेका छन्,’ वेदप्रसाद खतिवडाले भने, ‘रेस्टुरेन्ट तथा होटल सञ्चालन भइरहेका छन् । रेस्टुरेन्टभित्र बसेर खान दिइएको छैन । प्याकिङ गरेर लैजानुपर्छ ।’ केही क्याम्प र उत्पादन गर्ने ठाउँ सँगै भएका कम्पनीले भने कामदारलाई काम लगाइरहेका छन् । सेक्युरिटी गार्ड ड्युटीमा छन् । प्रहरीले हिँड्नुको उद्देश्य तोकेको छ । बिनाकारण हिँड्दा पक्राउ गरिन्छ, नियम उल्लंघन गर्नेलाई एक हजार रिंगिट जरिवाना तथा ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिइएको छ ।
साउदी अरबमा पनि अन्तर्राष्ट्रिय र घरेलु उडान बन्द छन् । सार्वजनिक सवारीसाधन १४ दिनका लागि बन्द छ । मस्जिदहरूमा प्रार्थना गर्न रोक लगाइएको छ । खाद्यान्न र औषधि अभाव हुन दिइएको छैन । कर्मचारी र कामदारको सहमतिबिना बेतलबी बिदा नदिन भनिएको छ । कामदारका लागि निर्देशिका जारी गरिएको छ । कामदारलाई जबर्जस्ती गरे सरकारलाई खबर गर्न सूचना जारी गरिएको छ । यो अवस्था सामना गर्न राज्यले छुट्टै कोष स्थापना गरेको छ । अहिले सडक पूरै सुनसान छ । होटलमा राखिएका कुर्सी हटाइएको छ । खाद्यान्न पसल बन्द गरिएको छैन । कामदारहरूको क्याम्पमा विशेष सुरक्षा अपनाउन कम्पनीहरूलाई निर्देशन दिइएको छ ।
कतारले बाहिरबाट आउने आफ्ना नागरिकलाई रोक लगाएको छैन । सबैलाई अनिवार्य रूपमा कतारको पाँचतारे होटलहरूमा क्वारेन्टाइनमा राखिएको छ । सबै प्रकारका सार्वजनिक सवारीसाधनमा रोक लगाइएको छ । स्कुल, विश्वविद्यालय बन्द छन् । कामदार बस्ने क्षेत्र पूरै सुनसान छ । कामदारलाई क्याम्पबाट बाहिरिन दिएको छैन । कतिपय कम्पनीले क्याम्पबाट सिधा कार्यस्थल र कार्यस्थलबाट क्याम्पमा ल्याउने–लैजाने व्यवस्था गरेका छन् । निजी क्षेत्रलाई राहत दिनका लागि सरकारी कोष खडा गरिएको छ ।
कोभिड–१९ फैलिने जोखिम रहेको क्षेत्र सनैयालाई पूरै सिल गरिएको छ, जसमा झन्डै ५० हजार नेपाली बसिरहेका छन् । अझ जोखिम भएका कामदारलाई क्वारेन्टाइनमै राखिएको छ । खाना र औषधि अभाव हुन दिइएको छैन । सडकमा हिँड्न पनि कडाइ गरिएको छ ।

 

Page 6
वाग्मती प्रदेश

मोटरसाइकलमै सामान ढुवानी

- कान्तिपुर संवाददाता

 

मानिसले प्रायः सामान ओसारपसार गर्नका लागि ठूला–ठूला गाडीको प्रयोग गर्छन् । तर सबैले समान ओसारपसार गर्न गाडी प्रयोग गर्न सक्दैनन् । राजधानीमा विशेष गरी निम्न वर्गका मानिसका लागि सबैभन्दा सजिलो र पहुँचमा भएको निजी सवारीसाधन मोटरसाइकल हो । तर सजिलोको चक्करमा उनीहरुले जोखिमप्रति ध्यान दिएको पाइँदैन । सवारीसाधनले
धान्नै नसक्ने गरी सामान राखेर सुरक्षाको बेवास्ता गर्दा दुर्घटनाको संख्या बढ्दो छ । नेपाल ट्राफिक महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठअनुसार हाल उपत्यकामा ०७६ फागुन मसान्तसम्म मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको संख्या ६ हजार १८ पुगिसकेको छ ।

शब्द/तस्बिरः कबिन अधिकारी

वाग्मती प्रदेश

सेनालाई ज्वानो र बेसारपानी

कोरोना भाइरस संक्रमणबाट बच्नका लागि नेपाली सेनाको मध्य पृतनाले ५ जनाभन्दा बढीलाई सामूहिक खानामा रोक लगाएको छ । हेटौंडा महानगरपालिकाले प्रवेशद्वारमा साबुनपानीले हात धुने व्यवस्था गरेको छ भने सिन्धुपाल्चोकका स्थानीय तहमा सेचतना अपनाइएको छ ।
- कान्तिपुर संवाददाता
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको गेटमै यात्रुबस रोकेर तापक्रम मापन गरिँदै । तस्बिर ः अनिश तिवारी/कान्तिपुर

(हेटौंडा) - कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट बच्न नेपाली सेनाको मध्य पृतना हेटौंडाले आफू मातहतका सबै ब्यारेक, गण र गुल्महरूलाई सतर्कता अपनाउन निर्देशन दिएको छ । पृतनाले एक मिटर टाढा बसेर सामूहिक रूपमा बढीमा ५ जनाले खाना खानुपर्ने व्यवस्था गरेको छ । ब्यारेकको प्रवेशद्वारमै थर्मल गनले ज्वरो नाप्न थालेको छ । बिदा बसेर आएकाहरूलाई १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्थासमेत गरेको छ । सबै ब्यारेक, गण र गुल्महरूमा क्वारेन्टाइन वार्ड तयार पारिएको मध्यपृतनाका एक अधिकृतले जनाए । मध्यपृतना मातहतका सैनिकलाई बेलुका निमोनियाबाट बचाउन र शरीरको प्रतिरोधी क्षमता वृद्धि गर्न ज्वानो र बेसार हालेर उमालेको तातोपानी दुई गिलास खुवाउन थालेको छ । विगतमा यसरी तातोपानी खुवाइँदैनथ्यो । कोरोनाको त्रास बढेपछि खुवाउन थालेको हो । मध्यपृतना हेटौंडाले सामरीमा ५० वटा आइसोलेटेड शय्या बनाउन जुटेको छ ।

प्रवेशद्वारमा हात धुने व्यवस्था
हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइसरबाट सेवाग्राही र कर्मचारीलाई सुरक्षित राख्न आफ्नो प्रवेशद्वारमा साबुनपानीले हात धुने व्यवस्था गरेको छ । ‘सेवाग्राही र कर्मचारी कार्यालयभित्र प्रवेश गर्नुभन्दा अघि प्रवेशद्वारमा राखिएको साबुनपानीले अनिवार्य हातधुने व्यवस्था गरेका छौं,’ उपमहानगरपालिका मेयर हरिबहादुर महतले भने । यसैबीच, हेटौंडामा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा शुक्रबार बसेको प्रदेशस्तरीय कोरोना नियन्त्रण समितिको बैठकले हेटौंडा उपमहानगरपालिका—११ थानाभर्‍याङस्थित आपत्कालीन केन्द्रलाई समितिको सचिवालयको रूपमा विकास गर्ने निर्णय गरेको छ । त्यसका लागि आवश्यक सामग्री प्रदेश सरकारले तत्काल उपलब्ध गराउने भएको छ । सचिवालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको प्रतिनिधि रहने तथा सचिवालयलाई २४ सै घण्टा सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । यसैगरी कोरोनासँग सम्बन्धित सूचना संकलन गर्न फरम्याट तयारी गरी प्रदेशका १३ वटै जिल्ला प्रशासन कार्यालयमा शुक्रबार नै पठाउने तयारी गरिएको छ । सवारीसाधनमा आवतजावत गर्नेहरूको हकमा १३ वटै जिल्लामा सुरक्षा निकायले निगरानी राख्ने भएको छ । जसका लागि सवारीसाधन रोकिने ठाउँमा सहायता डेक्स स्थापना गरिने भएको छ । विदेशी नागरिक र विदेशबाट फर्केको नेपाली नागरिकको पनि अभिलेख राख्ने बैठकले निर्णय गरेको छ । प्रत्येक जिल्लामा बिहान–बेलुका माइकिङ गरी कोरोनाका बारेमा जनचेतना फैलाउने तथा विद्यालय तथा विश्वविद्यालय बिदा भएपछि काठमाडौं उपत्यकाबाट अन्य जिल्लामा जानेहरूमा हुन सक्ने संक्रमणका बारेमा निगरानी बढाउने निर्णय समितिले गरेको छ ।

स्थानीय तहमा कोरोना सचेतना
सिन्धुपाल्चोक–हेलम्बु गाउँपालिकाले गाउँ क्षेत्रको पहिलो गेटमा दुई स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी राखेर ज्वरो नाप्ने र सचेतना अभियान थालेको छ । हेलम्बु गाउँपालिका क्षेत्र सुरु हुने तालामाराङको अघिल्लो सडकबाट यात्रुबसदेखि प्रत्येक सवारी रोकेर कोरोनाबारे सचेतना दिन थालिएको हो । दुई स्वास्थ्यकर्मीले घेरेर साबुनपानीले हात धुन लगाउने र त्यसपछि ‘इन्फारेट थर्मोमिटर’ बाट तापक्रम मापन गरेपछि मात्रै हेलम्बुमा आउन दिइने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘हेलम्बु आउने प्रत्येक बस र सवारी रोकेर हात धुन लगाउँछौं, त्यसपछि तापक्रम परीक्षण सकेपछि मास्क लगाउन दिन्छौं,’ उनले भने ।
हेलम्बु गाउँपालिकामा र स्वास्थ्य केन्द्रमा आउने जोकोहीलाई कोरोनाबारे सचेत बनाएर मात्रै आउन दिइएको छ । गाउँपालिकाभर साबुनपानीले हात धुँदै, कोरोनाबारे सचेत रहन अनिवार्य गरेर दुईवटा ‘इन्फ्रारेड थर्मोमिटर’ बाट तापक्रम परीक्षण भइरहेको छ । सम्पूर्ण गाउँलेलाई कोरोनाको लक्षणबारे बताएर सूचना दिँदै पम्प्लेट बाँडिरहेको हेलम्बु स्वास्थ्य शाखाका संयोजक ज्ञानेन्द्र सिग्देलले बताए । तीन नगर र नौ गाउँपालिकाले कोरोनाबारे सचेत रहन आइसोलेसन वार्ड स्थापनामा जुटेका छन् ।
सिन्धुपाल्चोकको सात स्थानमा आइसोलेसन वार्ड स्थापना गरिने भएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जिल्ला अस्पताल चौतारा, प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे, जलवीरे र मेलम्चीसहित अन्य तीन स्थानमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । ‘बाह्रबिसेमा एक शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइसकिएको छ,’ उनले भने ।
राजमार्गमा गुड्ने सवारी पातलिए
धादिङ– कोरोना भाइरसको सन्त्रासले राजधानी प्रवेश गर्ने सार्वजनिक सवारी साधानहरू आधा घटेका छन् । दैनिक ९ हजारदेखि १२ हजार सवारीसाधन गुड्ने पृथ्वी राजमार्ग अघिल्लो सातादेखि सुनसान बन्दै गएको छ । फागुन तेस्रो सातासम्म दैनिक ४० देखि ५० वटा बसका यात्रुलाई खाना र नास्ता खुवाउने होटलमा चैत लागेपछि सुनसान छ । दैनिक ८ सयभन्दा बढी यात्रुलाई नास्ता र खाना खुवाउने यहाँको एक होटलका सञ्चालक राजकुमार प्याकुरेलले भने, ‘पोखरा र लमजुङबाट आउने १०/१२ वटा र केही निजी सवारीसाधनबाहेक गाडी गुड्न सर्लक्कै छोडे ।’ नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पृथ्वीराजमार्गवरपर होटल, रिसोर्ट तथा आकर्षक रेस्टुरेन्टहरू सञ्चालनमा आएका थिए । पुराना रेस्टुरेन्टले पनि आकर्षण बढाउन थप लगानी गरी रंगरोगन गरेका थिए ।
कोरोनाको सन्त्रासका कारण सर्वसाधारण काठमाडौंको हुलभीडमा बस्न नचाहेर बाहिरिने गरेका छन् भने अन्य जिल्लाबाट काठमाडौंमा जानेहरूमा कमी आएको प्याकुरेलले बताए । गुडेका यात्रुबाहक सवारीसाधनमा पनि यात्रु निकै कम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका इन्चार्ज नेत्र भट्टले बताए । सर्वसाधारणहरू आफैंले सचेतना अपनाएका कारण पनि सामूहिक यात्रा गर्नुपर्ने सवारीसाधनमा यात्रुहरू कम भएको बुझाइ ट्राफिक प्रहरीको छ ।

वाग्मती प्रदेश

भेदभाव गरिएको भन्दै उजुरी

- कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक (कास)– दलितसँग विवाह गरेको भन्दै भेदभाव गरिएको आरोप लगाउँदै मेलम्ची नगरपालिका—९ ज्यामिरेका रमेश शर्मा कुइँकेलविरुद्ध प्रेम भुजेलले उजुरी दिएका छन् । पुर्ख्यौली पुरोहित कुइँकेलले तल्लो जातसँग बिहे गरेकाले बुबा बित्दा काजकिरयासमेत गर्न नदिएको भन्दै प्रहरीमा उजुरी हालेका हुन् । आफू घरमा गएमा पुरोहित कुइँकेल कर्मकाण्ड गर्न पनि नआउने भनेपछि उनी काठमाडौं गएर हिन्दु संस्कारअनुरूप बाबुको काजकिरिया गरे । ‘न्यायका लागि उजुरी दिएको छु, अहिलेको जमानामा पनि यस्तो खेप्नुपरेको छ, बुबाको काजकिरिया पनि काठमाडौंमा गरेँ,’ उनले भने ।  

वाग्मती प्रदेश

खानेपानीका ६ योजना

- कान्तिपुर संवाददाता


सिन्धुली (कास)– सिन्धुली जिल्लामा यो वर्ष वाग्मती प्रदेश सरकारको सहयोगमा ६ वटा खानेपानी योजना सञ्चालन हुने भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन नं. ४ रामेछाप फिल्ड कार्यालय सिन्धुलीका अनुसार वाग्मती प्रदेश सरकारले रामेछाप, सिन्धुली र दोलखामा यो वर्ष सञ्चालन गर्ने २५ वटा खानेपानी योजनामध्ये ६ वटा सिन्धुली जिल्लामा सञ्चालन हुन लागेको हो । फिल्ड कार्यालयका इन्जिनियर अभिराम मिश्रका अनुसार यो वर्ष कमलामाई नगरपालिकाको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको स्तरोन्नतिसहित दुधौली नगरपालिका ११ मा मध्नैीगाउँ तथा धनसरी खानेपानी आयोजना, वडा नं. ७, ८ र ९ मा दुधौली बृहत् खानेपानी आयोजना, सुनकोसी गाउँपालिका १ र २ मा अर्चलेमाने डाँडा खानेपानी आयोजना, फिक्कल गाउँपालिकामा देउकीडाँडा खानेपानी योजना र कमलामाई नगरपालिका ७ मा जनमैत्री खानेपानी आयोजना सञ्चालन हुन लागेको हो ।

Page 7
उपत्यका

चोक चोकमा साबुनपानी

- कान्तिपुर संवाददाता
काठमाडौंको न्युरोड (बायाँ) र मैतीदेवीस्थित सडक किनारमा राखिएको धारामा साबुनपानीले हात धुँदै पैदलयात्रु । ध तस्बिर ः इलिट जोशी/कान्तिपुर

(काठमाडौं) - पाको न्युरोडमा पुग्नुभयो भने त्यहाँ तरल साबुनको बट्टा र स्ट्यान्डसहितको १२ वटा पानी भरिएको टुटी जडित हरियो ड्रम देख्नु हुनेछ । यो प्रायः भीडभाड हुने त्यस क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणलाई हात धुन राखिएको हो । यसमा हात धोएबापत् कुनै शुल्क लाग्दैन । त्यस क्षेत्रका मोबाइल व्यवसायीले मिलेर कोभिड–१९ को संक्रमणबाट बचाउन निःशुल्क हात धुने व्यवस्था मिलाएका हुन् । ‘रोग लागेपछि उपचार खोज्नुभन्दा लाग्न नदिने उपाय अपनाउनु ठीक ठानेर यसो गरेका हौं,’ न्युरोडका विवेक शर्माले भने । न्युरोडमा जस्तै सुन्धारा, रत्नपार्क, जमल, घण्टाघरमा राख्ने योजना रहेको उनले बताए । ड्रम २ सय २५ लिटर पानी राखिएको छ । १२ वटा ड्रममा ३ हजार ६० लिटर पानी जम्मा गर्ने जिम्मेवारी श्रीराज महर्जन र महेन्द्र शाहीले लिएका छन् । पानी भर्न दुई जना कामदार राखेको महर्जनले बताए । ‘दैनिक ५ हजार लिटर पानीले यस क्षेत्रमा आउने सर्वसाधारणलाई हात धुन पुग्छ,’ उनले भने, ‘साबुन दिनको ३ वटा भए पुग्छ ।’
चोकचोकमा हात धुने व्यवस्था गरेकाले सबैलाई सचेत गराएको कीर्तिपुरका सुजित आर्चायले बताए । कामाडौंको भोटेबहाल भने लायन्स क्लब अफ काठमाडौं सर्मपनले ३ सय लिटरको पानी ट्यांकी राखेर हात धुने व्यवस्था मिलाएको छ । ट्यांकीमा पानी भर्ने र साबुन राख्ने जिम्मेवारी त्यहाँका बालकृष्ण अग्रवालले लिएका छन् । क्लबका सचिव अग्रवालले बबरमहल, वसन्तपुर र मैतीदेवीमा पनि राख्ने योजनामा रहेको बताए । कुपण्डोलमा भने नाइटिङ्गेल स्कुलले निःशुल्क हात धुने व्यवस्था मिलाएको छ । स्कुलले कोरोना भाइरसबाट बच्ने र बचाउने उपाय, भाइरसका मुख्य लक्षणबारे लेखिएको जनचेतनामूलक सन्देश पनि राखिएको छ । ललितपुर महानगरपालिका–१६ वडाले भने धपगाल बजारमा राख्ने योजना बनाएको जनाएको छ ।
काठमाडौंस्थित मैतीदेवीमा पनि युनाइटेड क्लबले हात धुने व्यवस्था मिलाएको छ । १० हजारको लगानीमा पैदलयात्रुका लागि सबैले हात धुने व्यवस्था गरेको क्लबका अध्यक्ष राम शाहीले बताए । वरिपरि कोरोनासम्बन्धी जनचेतनामूलक फ्लेक्स बोर्ड टाँसेर साबुनपानीले हात धुने व्यवस्था मिलाइएको छ । ‘कुनै वस्तु छुनेबित्तिकै हात धुनुपर्छ,’ उनले भने, ‘कोरोनाको त्रासले भयभीत बनेको बेलामा पैदलयात्रु तथा सबैले हात धोऊन् भनेर व्यवस्था मिलाए हौं ।’ टोलटोलमा रहेका सबै क्लब तथा समितिले हात धने ठाउँको व्यवस्था गर्न पछि पर्न नहुने उनले बताए । त्यस्तै, काठमाडौं महानगरपालिकाको १५ नम्बर वडा कार्यालयले पनि स्वयम्भूस्थित भगवान्पाउ चोकमा हेल्थ डेस्कसहित हात धुने व्यवस्था गरेको छ । डेस्कमा हात धुने व्यवस्थासहित स्यानिटाइजर पनि राखिएको वडाध्यक्ष ईश्वरमान डंगोलले बताए । वडाका भीडभाड हुने सबै ठाउँमा यस्तो व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले रत्नपार्क हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई लक्षित गरेर हात धुने पानी र डिटोल राखेको छ । कार्यालय प्रवेश गर्ने प्रहरी र सर्वसाधारणले पनि हात धोएर मात्रै जाने गरेका छन् । कार्यालयबाट घर जाँदा पनि हात धुने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोनाविरुद्ध जनचेतना र सावधानीका लागि मुख्य प्रवेशद्वारमा साबुनपानीले हात धुने व्यवस्था गरेको छ । महाशाखाले हात धोई ज्वरो नापेर मात्र कार्यालयमा छिर्ने व्यवस्था गरेको प्रवक्ता एसी जीवनकुमार श्रेष्ठले बताए । ‘ट्राफिक महाशाखाको मूलगेट अगाडि बाल्टिनमा पानी र साबुन राखिदिएका छौं,’ उनले भने, ‘ज्वरो नापेर र हात धोएर मात्र भित्र जानुहोला भन्ने सूचनासमेत मूलगेट अगाडि राखेका छौं ।’ कार्यालयमा प्रवेश गर्ने प्रहरी कर्मचारी, सेवाग्राही आगन्तुकले साबुनपानीले हात धोएरमा मात्र भित्र जान पाइने छ । महाशाखाका मातहतका सबै ट्राफिक कार्यालयमा पनि साबुनपानीले हात धुने व्यवस्था मिलाउन निर्देशन गरिसकेको महाशाखाले जनाएको छ ।
हात धोएर कार्यालय प्रवेश
स्पिकरमा कोरोना भाइरसबारे सचेतनाका आवाज गुन्जिएको छ । पैदलयात्रु, सवारीसाधन चालकलाई कोभिड–१९ बारे पर्चा वितरण गर्ने कार्य पनि
उत्तिकै छ ।
सरकारी तथा गैरसरकारी कार्यालयले कार्यालय प्रवेश गर्नुअघि हात धुने व्यवस्थाको थालनी गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई हात धुने व्यवस्था गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सविन प्रधानले बताए । ‘नागरिक सहजकर्ताले हात धोएर मात्र कार्यालय प्रवेश गर्न सेवाग्राहीलाई सुझाव दिन्छन्,’ उनले भने, ‘कर्मचारी तथा सेवाग्राहीलाई हात धुन प्रवेशद्वारमै साबुनपानीको सुविधा छ ।’
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मातहतका सरकारी कार्यालयमा हात हुने व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ । सबै सरकारी कार्यालयले कोभिड–१९ बारे सचेतना अपनाउँदै स्यानिटाइजरको प्रयोग गर्ने र हात धुने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । ‘जिल्ला प्रशासन प्रवेश गर्नुअघि हात धोएर व्यवस्था मिलाएका छौं,’
उनले भनिन् ।

उपत्यका

हात धुन सिकाउँदै स्काउटर

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल स्काउटले काठमाडौं उपत्यकाका मुख्य चहलपहल हुने कम्तीमा ५० स्थानमा स्यानिटाइजर केन्द्र स्थापना गरेको छ । नेपाल स्काउटले कोरोनाको रोकथाम गर्न जनचेतनामा आफ्ना रोभर र रेञ्जर सदस्य परिचालन गरेर चोकचोकमा स्यानिटाइजरको प्रयोग र हात धुने तरिका सिकाइरहेका छन् । त्यस्तै रोग लाग्न नदिन अपनाउनुपर्ने विधिको पर्चा बाँड्ने गरेका छन् । स्काउटले काठमाडौं उपत्यकाका सर्वसाधारणको चहलपहल हुने सामाखुसी, जावलाखेल बसपार्क, चाबहिल, असन लगायत ५० स्थानमा स्यानिटाइजरसहित हात धुने ठाउँको व्यवस्था गरेको हो । एउटा स्टेसनमा ३ देखि ५ जनाको प्रशिक्षित स्वयंसेवक टोली खटिएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन सुरक्षित हात धुने तरिका, स्यानिटाइजरको प्रयोग र सुरक्षाका अरू उपायबारे सिकाउन आफ्ना स्वयंसेवक परिचालन गरिसकेको नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले बताए ।

उपत्यका

पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित

- कान्तिपुर संवाददाता

(काठमाडौं) - पशुपति क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा शुक्रबारदेखि स्थगित गरेको छ । सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन गरेको आग्रहलाई मध्यनजर राखेर पशुपति क्षेत्रमा विशेष सर्तकता अपनाउन विशेष पूजा रोकेको कोषका संस्कृति महाशाखा प्रमुख प्रेमहरि ढुंगानाले जनाए । नियमित पूजा भने यथावत् रहेको उनले बताए । विशेष पूजामा भीड बढ्ने भएकाले बन्द गरिएको ढुंगानाले बताए ।
‘एक जनाको विशेष पूजा गर्न कम्तीमा चार जना आउँछन्,’ ढुंगानाले भने, ‘५ जना मात्र पूजा गर्न आए भने पनि कम्तीमा ५० जना हुन्छन् । त्यही भएर विशेष पूजा स्थगित गरेका हौं ।’ सरकारले सांस्कृतिक, सामाजिकलगायत सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी उपस्थ्ति हुन रोक लगाउने निर्णय गरेको छ । पशुपतिमा नेपाली भक्तजन घट्दै गए पनि भारतीय भने बढ्दै गएको थिए । कोषका अनुसार दिनमै ३ हजारसम्म भारतीय आउने गरेका छन् । विशेष पूजा गर्नेमा नेपालीभन्दा भारतीय नै बढी हुने गरेका छन् ।
कोषले अतिरिक्त शुल्क लिएर विशेष पूजा गराउँदै आएको छ । पशुपतिनाथ मन्दिरमा र वासुकी मन्दिरमा शुल्क तिरेर विशेष पूजा हुने गरेको छ । पशुपतिनामा मन्दिरमा १ हजार १ सयदेखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुन्छ । वासुकीमा चाहिँ २ सय ५५ देखि १ हजार १ सय रुपैयाँसम्मको विशेष पूजा हुन्छ । वासुकीमा दुग्धापर्ण पूजाको २ सय ५५, बेलपत्र, नैवेद्य एवं दुग्धापर्ण पूजाका लागि ५ सय ५ र पञ्चामृत पूजाका लागि १ हजार १ सय तिर्नुपर्छ ।
पशुपतिनाथमा १० प्रकारको विशेष पूजा हुने गरेको छ । १ हजार १ सय तिरेर पञ्चामृत पूजा, बालभोगसहित पञ्चामृत पूजाका लागि २ हजार १ सय, रुद्राभिषेक र बालभोगसहित पञ्चामृत पूजाका लागि ५ हजार १ सय, लघु रुद्राभिषेक र पूराभोगसहित पञ्चामृत पूजाका लागि ११ हजार रुपैयाँ तिर्नुपर्छ । त्यसैगरी रुद्राभिषेख, पूराभोग, सवा लाख बत्तीद्वारा आरती र पञ्चामृत पूजाका लागि २७ हजार रुपैयाँ, लघु रुद्राभिषेक, पूराभोग, हवन, सवा लाख बत्तीद्वारा आरती र पञ्चामृत पूजाका ५६ हजार रुपैयाँ, भक्तजनको सहभागितामा हुने भोगसहितको नित्यपूजाको लागि १ लाख ५६ हजार, एकदिवसीय महारुद्रीको २ लाख ५१ हजार रुपैयाँ, एकादश दिवसीय महारुद्रीको ८ लाख १ रुपैयाँ, एकादश दिवसीय अतिरुद्रीका लागि २५ लाख रुपैयाँ तिर्नुपर्छ । नियमित दर्शन गर्न आउने भक्तको लागि चाहिँ विशेष सावधानी अपनाएर दर्शनको व्यवस्था गरिएको ढुंगानाले जानकारी दिए । ‘मन्दिरको ढोकाभन्दा अलि पर जाली राख्ने व्यवस्था गर्छार्ैं,’ ढुंगानाले भने, ‘आम मान्छेलाई मन्दिरमा नजानुस् भन्न मिलेन । त्यही भएर सक्दो सावधानी अपनाएका छौं । ठाउँठाउँमा स्यानिटाइजर राखेका छौं, त्यसको प्रयोग गरेर मात्र मन्दिर प्रवेश गर्न अपिल गरेका छौं ।’

रथयात्रा रोक्नुपरेकोमा क्षमायाचना
सेतो मत्स्येन्द्रनाथको रथयात्र पनि स्थगित भएको छ । रथयात्रा ११४० व्यवस्था समितिले रथयात्रा रोक्नुपरेकोमा क्षमायाचनासमेत गरेको छ । ‘यस वर्ष रथयात्रा सञ्चालन गर्न नसकिने स्थिति आइलागेकोमा सेतो मस्त्येन्द्रनाथसँग कोटिकोटि क्षमायाचना गर्न चाहन्छौं,’ समितिका अध्यक्ष नीलकाजी शाक्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट भक्तजनमा पर्न जाने भावनात्मक तथा सांस्कृतिक असुविधाप्रति क्षमाप्रार्थी छौं ।’
सेतो मत्स्येन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले विज्ञप्तिमार्फत चैत १९ देखि २१ सम्म हुने रथयात्रा स्थगित शुक्रबार स्थगित गरेको हो । वर्षा र सहकालका देवता मत्स्येन्द्रनाथको हर्षोल्लासका साथ पूजा हुने तयारी भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘यही समयमा कोरोनाको महामारीको त्रासका कारण विश्व आक्रान्त भइरहेको अवस्था छ । हाम्रो देश पनि यसको संक्रमणको खतरामा छ । संक्रमणको जोखिमलाई कम गर्न सजगताका लागि जनस्तरमा हुने भीडभाड हुने कार्यक्रम नगर्नु नै उचित हुन्छ ।’
जात्रा रोक्न, भोज नगर्न मेयर शाक्यको आग्रह
काठमाडौं महानगरपालिकाले यही महिना हुन लागेको विभिन्न जात्रा रोक्न अपिल गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले विज्ञप्ति जारी गर्दै पाँहाचाह्रे, घोडेजात्रा नमनाउन अपिल गरेका हुन् । ‘काठमाडौं महानगरपालिका सांस्कृतिक सहर भएका कारण यहाँका मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्नुपर्ने पनि उत्तिकै दायित्व छ । विभिन्न समयमा यहाँ मनाइने जात्रापर्वको पनि विशिष्ट महत्त्व रहिआएको छ,’ मेयर शाक्यले गरेको अपिलमा भनेका छन्, ‘अहिले नजिक आइरहेका पाहाँचःर्‍हे, घोडेजात्रा, सेतो मत्स्येन्द्रनाथको रथयात्रालगायत जात्रा पर्वहरू निकै ठूलो जनसहभागितामा मनाउने परम्परा रहिआएको छ । तर अहिले विषम परिस्थितिमा भीडभाडका साथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत् राख्दै भीडभाडमा भने ती जात्रापर्व नमनाउन अनुरोध गर्दछु ।’ मेयर शाक्यले भोजभतेरसमेत नगर्न
अपिल गरेका छन् ।

संकटालगायत मन्दिर प्रवेशमा रोक
काठमाडौं महानगरपालिका २२ नम्बर वडाले
आफ्नो क्षेत्रभित्रका केही मन्दिरमा शुक्रबारदेखि प्रवेशमा रोक लगाएको छ । कोराना भाइरसप्रति सतर्कता अपनाउन यस्तो निर्णय गरिएको वडा कार्यालयले जनाएको छ । २२ नम्बर वडाका संकटा, टेबहालको भद्रकाली मन्दिर, बटु भद्रकाली मन्दिर र महांकाल मन्दिरमा रोक लगाएको वडा कार्यालयले जनाएको छ । ती मन्दिरमा नित्यपूजा भने
जारी रहनेछ ।

उपत्यका

सावधानी अपनाउँदैनन् चालक

- कान्तिपुर संवाददाता

(काठमाडौं) - लगनखेलदेखि रत्नपार्क जाने माइक्रोबसका चालकले मास्कबिनै गाडी चलाइरहेका थिए । सहचालकले पनि मास्क नलगाई यात्रुको अगाडि पुगेर भाडा उठाइरहेका थिए । यात्रुले भने केहीले सर्जिकल, धेरैजसोले कपडाको मास्क लगाएका थिए । मास्क नहुने महिलाले भने सलले मुख छोपेका थिए । केही पुरुष यात्रुले भने रुमाल बाँधेर यात्रा गरिरहेका थिए । मास्कबिनै यात्रा गर्ने यात्रु पनि उत्तिकै थिए । मास्क लगाउने यात्रुले नलगाउनेलाई एकहोरो हेरिरन्थे । उपत्यकामा चल्ने सवारीसाधनमा चढ्ने यात्रुको संख्यामा समेत कमी आइरहेको यातायात व्यवसायीहरू बताउँछन् । उपत्यकाबाहिर जाने सवारीमा भने यात्रुको चाप बढेको छ ।
काठमाडौं–बाह्रबिसे/त्रिपुरासुन्दरी चल्ने बसमा बिहीबार सिटभन्दा बढी यात्रु चढेर गाउँ फर्किरहेका थिए । दसैंतिहारमा मात्र भीड हुने बसले चाडपर्व नहुँदा पनि सिटभन्दा बढी यात्रु लिएर गएको हो । ती बसका कर्मचारी पनि मास्कबिना थिए भने यात्रुको स्यानिटाइजरको व्यवस्था पनि थिएन । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिए पनि यातायात क्षेत्रमा कार्यरत चालक/सहचालकले हालसम्म कुनै पनि सावधानी अपनाएका छैनन् । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न तथा नगराउन यातायात व्यवसायीलाई आग्रह गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार सिटभन्दा यात्रु चढाउन नदिन निर्णय गरेको छ । ‘सिट खाली नभएको बसमा चढनुस्,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘यातायात व्यवसायीले पनि यात्रुको सुविधाका लागि स्यानिटाइजरको व्यवस्था गर्नुपर्छ ।’ यात्रु चढाउन रुटमा लैजानुअघि संक्रमणमुक्त बनाउने व्यवस्था गर्न पनि विभागले आग्रह गरेको छ । विभाग र प्रहरीले यसको अनुगमन गर्न छुट्टै समितिसमेत बनाउने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले थोरै यात्रु बोकेर हिँड्न तयार रहे पनि गाडीको तेल खर्च र चालक/सहचालकको स्वास्थ्य सुरक्षामा सरकारले ध्यान दिनुपर्ने माग गरे । ‘चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्तादेखि बिमाको व्यवस्था छ,’ उनले भने, ‘तर, यातायात क्षेत्रका लागि भने निर्देशन र निर्णय मात्र गरिएको छ ।’
यातायातलाई संवेदनशील क्षेत्र घोषणा गरे पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको उनले दाबी गरे । ‘चालक/सहचालक दैनिक सयौं यात्रुसँग घुलमिल हुनुपर्छ,’ उनले भने, ‘उनीहरूले आफैं मास्क किनेर लाउन बाध्य छन् ।’
सरकारले यात्रुवाहक सार्वजनिक यातायातका सवारीधनीले सवारीसाधन चलाउनुअघि सवारीसाधनलाई डिसइन्फेक्सन स्प्रे गर्न निर्देशन दिएको छ । तर, डिसइन्फेक्सन गर्न सहजै सामान नपाउने उनले सुनाए । ‘मास्क, थर्मल गन, सेनिटाइजर, स्प्रे सबै किन्न तयार छौं,’ उनले भने, ‘त्यो पनि तोकिएको सरकारी मूल्यमा सहजै पाउनुपर्छ ।’ त्रासका कारण लामो र मध्यम दूरीमा यात्रुको संख्या बढेको उनले बताए । उपत्यकाभित्र भने अरू बेला गुड्नेको तुलनामा आधा मात्रै सार्वजनिक यातायात गुड्ने गरेको
उनले बताए ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सबै कम्पनीलाई सवारीसाधन सरसफाइ गर्न, मास्क लगाएरमा चलाउन निर्देशन दिइसकेको बताए । ‘सार्वजनिक सवारीसाधन भएपछि यात्रुलाई पनि सुरक्षित साथ गन्तव्यमा पुर्‍याउनुपर्छ,’ उनले भने, ‘सम्बन्धित निकायले चालक/सहचालककै सुरक्षाका लागि केही नगरेपछि यात्रुलाई कसरी सुरक्षित यात्रा गराउने ?’ जनचेतना फैलाउनका लागि पर्चा, पम्पलेट बाँडे पनि यात्रुलाई सुरक्षित यात्रा दिन नसकेको उनले बताए । ‘सम्बन्धित निकायले चालक/सहचालकको सुरक्षाको जिम्मा लिनुपर्छ,’ उनले , ‘उनीहरूले जस्तोसुकै अवस्थामा पनि सवारीसाधन चलाइरहेका हुन्छन् ।’ टिकट काट्ने ठाउँ धेरै भीडभाड हुने भएकाले त्यसलाई ई–टिकटमा परिवर्तन हुनुपर्ने उनले सुनाए । त्यस्तै, सरकारले किस्तामा लिएका सवारीसाधनको ३ देखि ६ महिनासम्मको ब्याज तथा किस्ता मिनाहा गर्ने व्यवस्था मिलाउनुपर्ने उनले माग गरे । नेपाल यातायात स्वतन्त्र संगठनका अध्यक्ष नवराज घिमिरेका अनुसार ग्रामीण क्षेत्रबाट आउने सवारीसाधनमा केही चाप देखिए पनि उपत्यकामा सञ्चालन हुने सवारीसाधनमा यात्रुको संख्या न्यून रहेको बताए । त्यस्तै सुरक्षाका लागि अब बसपार्कहरूमा पानी ट्यांकी राखेर सफा गरिने उनले सुनाए । पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले बसका चालक/सहचालकहरूलाई मास्क र रुघाखोकी, ज्वरो आउने तथा खोकी लाग्ने यात्रुलाई छुट्टै ठाउँको व्यवस्था तथा नजिकैको स्वास्थ्य चौकीमा सामान्य परीक्षण गराई आवजावत गराइरहेको बताए । फागुन १५ गतेदेखि निरन्तर घट्दै गएको यात्रुको संख्यामा बिहीबार अचाक्ली बढेको उनले सुनाए । पहिले दैनिक माइक्रोबस, मिनीबस, रात्रिबस, एसी/डिलक्स गरी दुई सयभन्दा बढी सवारीसाधन चलिरहेको अवस्थामा अहिले ७० वटा मात्र चलिरहेको उनले बताए । यात्रुको संख्या घटेका कारण आइतबारदेखि सवारीको संख्या घटाउने तयारी भइरहेको उनले सुनाए । ‘बिरामी र चिकित्सक पछि संक्रमण फैलाउने अर्को आधार हो, सार्वजनिक बस,’ उनले भने, ‘दैनिक विभिन्न यात्रुसँग हिँड्नुपर्ने भएकाले सवारीसाधनले पनि संक्रमण फैलाउने छ ।’

राजधानीकै बसपार्कमा छैन हेल्थ डेस्क
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार सरुवा रोगहरूको संक्रमण फैलन नदिन यातायात ट्रान्जिट र बसपार्क, नाकाहरूमा स्वास्थ्य परीक्षणमा कडाइ गर्नुपर्छ । तर, राजधानीकै बसपार्कहरूमा हालसम्म पनि हेल्थ डेस्क राखिएको छैन । महासचिव सिटौलाका अनुसार उपत्यकाका सबै बसपार्कहरूमा हेल्थ डेस्क राख्न एक साता अघिदेखि नै आग्रह गरेको थियो । तर हालसम्म त्यसको व्यवस्था हुन सकेको छैन ।

आफ्नै प्रयास
काठमाडौं चक्रपथमा सञ्चालन भएका सुन्दर यातायात र साझा यातायातले पनि यस्तो सेवा सुरु गरिसकेको छ । सुन्दरले यात्रुको तापक्रम परीक्षण गर्ने र ग्यारेजबाट सवारीसाधन निस्कनुअगावै डिसइन्फेक्सन गर्ने गरेको जनाएको छ भने साझाले पनि सबै सवारीसाधनलाई डिसइन्फेक्नस गरेर मात्र यात्रु चढाउन सुरु गरेको छ । यातायात व्यवस्था विभागले महानिर्देशक गोगनबहादुर हमालले एक महिनाका लागि रुट परमिट खुला गर्ने जनाएका छन् । यात्रुको भीडभाडलाई मध्यनजर गर्दै रुट परमिट खुला गरेको उनले बताए । त्यस्तै यातायात कार्यालयमा लाइसेन्स नवीकरण हुने तर नयाँ र क्याटेगोरी थप गर्न नपाउने उनले बताए ।

Page 8
विविधा

महामारीको मनोसामाजिक पक्ष

- डा. अजय रिसाल

चीनबाट तीन महिनाअघि सुरु भएको कोरोना भाइरसले अहिले विश्वव्यापी रूप लिइसकेको छ । १२० भन्दा बढी देशका लगभग २ लाख मानिस यस भाइरसबाट प्रभावित छन् । त्यस्तै १० हजार बढीको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनले यो कोरोना भाइरससँग जुध्न सारा विश्वलाई नै आह्वान गरिरहेको छ । यसै सन्दर्भमा कोरोना महामारीको मानसिक वा मनोवैज्ञानिक पक्षमा यो लेख केन्द्रित छ ।
तीव्र गतिमा फैलिएर विकसित कहलिएका देशहरूलाई समेत कोरोना भाइरसको नियन्त्रण गर्न हम्मेहम्मे पारिरहेको छ । कोरोना भाइरसले सर्वसाधारण मात्र नभई स्वास्थ्य र सामाजिक कार्यकर्तामा मनोवैज्ञानिक त्रास एवं आतंक सञ्चार गरिरहेको छ । बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, शारीरिक अनि मानसिक रूपमा कमजोर मानिस बढी मनोसामाजिक समस्याका सिकार बन्न सक्छन् ।
कोरोना संक्रमितलाई दया, करुणा, सहानुभूति होइन, समानुभूति चाहिन्छ । कोरोनालाई भयको विषय नबनाई अन्य सामान्य रोगसरह मान्ने वातावरण बनाउनु अत्यावश्यक छ ।
पत्रपत्रिका र सामाजिक सञ्जालमा कोरोना भाइरस सम्बन्धी होहल्ला, भय मिश्रित र आतंकित बनाउने नकारात्मक पक्षमात्र प्रवाह गर्नुहुन्न । तथ्यपरक सकारात्मक ऊर्जा प्रदान गर्ने सामग्री सम्प्रेषण गर्नुपर्छ । यस रोगका कारण अहिलेसम्म ज्यान गुमाएका करिब ३ प्रतिशतभन्दा निको भएका ९०–९५ प्रतिशत को तथ्यांक सर्वसाधारणको मानसिक सुधारका लागि बढी उपयोगी हुन्छ । कोरोना संक्रमणबाट कसरी जोगिने भन्ने सामग्री बढी प्रचार–प्रसार गर्नुपर्छ ।
महामारीको समयमा पहिले ‘आफू जोगिने’ अनि अरुलाई ‘सहारा दिने’ हो । यसो गर्दा सहयोग लिने र दिने दुवै पक्षलाई फाइदा हुन्छ । संक्रमणले सबैभन्दा असर पुर्‍याउने स्वास्थ्यकर्मीलाई हो । विद्यालय, उद्योग–कलकारखाना, बजार, सार्वजनिक यातायात सबै बन्द हुनसक्लान्, तर अस्पताल–स्वास्थ्य केन्द्र २४ सै घन्टा खुला रहनुपर्छ । विद्यार्थी–शिक्षक, व्यापारी र अन्य पेसाकर्मी छुट्टीमा बस्न पाउलान्, तर महामारीको समयमा स्वास्थ्यकर्मीलाई छुट्टी कसरी दिने ? स्वास्थ्यकर्मी यस्तोमा बढी तनावमा हुन्छ । आफू बाँच्नेमात्र नभई अरुलाई बचाउने जिम्मेवारीमा स्वास्थ्यकर्मी हुन्छन् । स्वास्थ्यकर्मीको मनोसामाजिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि सबै पक्षले विचार गर्नु आवश्यक छ ।
स्वास्थ्यकर्मीले कोरोनाको महामारीको बेलामा आफ्ना आधारभूत आवश्यकता
(भोजन, पानी र आवास ) परिपूर्ति गर्न झनै ध्यान पुर्‍याउनुपर्छ । आफू स्वस्थ रहेमात्र अरुको हेरचाह गर्न सकिने हो । पर्याप्त आराम, नियमित व्यायाममा ध्यान दिनुपर्छ । धूमपान, मद्यपान या लागूपदार्थ सेवन आदिले मानसिकमात्र नभई शारीरिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ । आफ्नो
पेसागत धर्मले गर्दा स्वास्थ्यकर्मी परिवार वा समाजबाट टाढा भइरहेका हुन्छन् । यस्तो बेला टेलिफोन, भाइवर वा अन्य सामाजिक सञ्जालहरूको प्रयोग गरी आफ्ना परिवार, आफन्तजन र साथीसँग नजिक रहने प्रयास स्वास्थ्यकर्मीले गर्नुपर्छ । यसैले तनाव व्यवस्थापनमा मद्दत गर्छ ।
मनोवैज्ञानिक प्राथमिक उपचारका लागि मानसिक स्वास्थ्यकर्मी हुनैपर्छ भन्ने छैन । महामारीका बेला तनावमा रहेका जोकोहीलाई स्वयंसेवक वा हेरचाह गर्ने मानिसले पनि मनोवैज्ञानिक ढाडस दिन सक्छन् । महामारीबाट प्रभावितहरूको वस्तुस्थिति, रहन–सहन, संस्कृति, भाषाभेष र उपलब्ध सहयोग–स्रोतको पहिचान गर्नुपर्छ । मनोवैज्ञानिक प्राथमिक उपचार प्रक्रियामा प्रभावित व्यक्तिको सुरक्षा र आत्मसम्मानमा ध्यान दिनुपर्छ । अनि प्रभावितलाई व्यावहारिक सहयोग, आधारभूत आवश्यकता (खाना, पानी, बासस्थान र सूचना प्रवाह) परिपूर्तिमा ध्यान पुर्‍याउनुपर्छ । प्रभावितले आफ्ना कुरा, कथाव्यथा सुनाउन चाहे शान्त भई सुनिदिनुपर्छ । आवश्यक सान्त्वना दिने अनि उपलब्ध साधनस्रोत, सहयोग र सेवाको बारेमा यथेष्ठ जानकारी दिनुपर्छ । त्यस्तै महामारीको कसरी र किन बढिरहेछ ? यसका निराकरणका लागि कसरी काम भइरहेछ भन्नेबारेमा प्रभावितलाई जानकारी दिनु उचित हुन्छ । सही सूचना दिनु मनोचिकित्सक उपचार हो ।
प्रभावितलाई उनीहरूको परिवारसँग सम्पर्कमा राख्नुपर्छ । प्रत्यक्ष रूपमा सम्भव नभए अप्रत्यक्ष रूपमा टेलिफोन वा सामाजिक सञ्जालका माध्यमबाट पनि परिवारसँग सम्पर्क गराउन सकिन्छ । प्रभावितका संक्रमणजन्य शारीरिक समस्याको उपचारको व्यवस्था सहज तरिकाले मिलाउनुपर्छ । त्यस्तै प्रभावितको आध्यात्म, विश्वास वा धर्मको ख्याल गर्नुपर्छ । प्रार्थना, जपतप, भजनकीर्तन आदि गर्न चाहनेहरूलाई उपयुक्त वातावरण मिलाइदिनु राम्रो हुन्छ ।
महामारीका बेलामा प्रभावितहरूले नै बुझ्ने भाषामा यथोचित जानकारी दिनुपर्छ । बालबालिकालाई खेलकुद, मनोरञ्जन आदि गर्ने अनि यथासम्भव आफ्ना अभिभावकहरूसँगै राख्ने वातावरण मिलाउनुपर्छ । अहिले कोरोना–संक्रमित वा संक्रमणको आशंका हुने बित्तिकै अलग्गै रहनुपर्ने अवस्था छ । यसरी परिवार या समाजबाट अलग्गै बसेकाले बहिष्कृत भएझैं मान्नुहुन्न । प्रभावितलाई सकेसम्म सामाजिक सञ्जालबाटै भए पनि सम्पर्कमा राखिरहने प्रयास गर्नुपर्छ । यस्तै फैलन नदिन सरसफाइमा ध्यान दिनुपर्छ । हाम्रो संस्कृति ‘नमस्ते’को अझै प्रचार गर्नुपर्छ । शारीरिक संक्रमणलाई त ढिलो–चाँडो जितिनै हाल्छौं, मानसिक सबलतालाई पनि खलबलिन नदिऔं ।
रिसाल धुलिखेल अस्पतालका
मानसिक रोग विशेषज्ञ हुन् ।

विविधा

महाव्याधिका सांस्कृतिक विषाणु

 

केही दिनअघि ‘नेपालविज्ञ’ मानिने भारतीय विद्वान सुकदेव मुनीले
आफ्नो ट्विटर ह्यान्डलमार्फत एउटा मत राखे, ‘पश्चिमा संस्कृतिको हात मिलाउने अभिवादन परम्पराको तुलनामा पूर्वीय संस्कृतिको नमस्कारको सांस्कृतिक उच्चता बाहिर ल्याउनु कोभिड–१९ महाव्याधिको सकारात्मक पक्ष हो ।’ उनले अझ अघि बढेर ‘जङ्गली र अजब खाद्य परम्पराभन्दा शाकाहारी खाद्य परम्परा उँचो भएको’ भन्नसमेत भ्याएका छन् । दोस्रो उदाहरण आफूलाई चिकित्साशास्त्रको विद्यार्थी र संस्कृतिप्रति रुचि राख्ने व्यक्ति बताउने एक नेपालीले ट्विटर ह्यान्डलबाट विश्व स्वास्थ्य सङ्गठनको हवाला दिँदै ‘अहिलेसम्म शाकाहारी भोजन गर्ने कोही पनि कोभिड–१९ को सङ्क्रमित नभएको’ जानकारी प्रेषित गरिन् । सांस्कृतिक पूर्वाग्रहका यी दुई प्रतिनिधि विचारहरू मात्र हुन् । यस्ता भनाइ र बुझाइहरू सामाजिक सञ्जालहरूमा छताछुल्ल छन् । सार्वजनिक र अनौपचारिक बहसहरूमा पनि यस्ता खाले विचार प्रशस्त आइरहेका छन् । भलै यस्ता सबै कथन र धारणा कसैलाई हानि गर्ने वा होच्याउने सोचेर लेखिएका वा भनिएका होइनन् होलान् । तर यथार्थमा यस्ता विचार हामीभित्र चेतन र अवचेतन तहमा रहेका सांस्कृतिक पूर्वाग्रहसँग बलियो रूपमा सम्बन्धित हुन्छन् । प्रकोप विस्फोटनको यो अत्यन्त संवेदनशील अवस्थामा यस्ता विचार र सूचनाको सम्प्रेषणले भ्रम, घृणा र विभेद बढाई समस्या झन् बढाउन योगदान गरिरहेका छन् ।

भ्रम र घृणाको जननी पूर्वाग्रह
सामान्यतया भ्रमहरू ज्ञान र सूचनाको अभावका कारण जन्मन्छन् भन्ने मान्यता पाइन्छ । तर यो बुझाइ सतही देखिन्छ । धेरै खाले भ्रमहरू पूर्वाग्रहहरूका बाह्य उत्पादन हुन् भन्न सकिन्छ । माथिका दुई उदाहरणहरू पनि यसलाई पुष्टि गर्न काफी छन् । संस्कृतिसँग सम्बन्धित भ्रमहरूमा पूर्वाग्रहहरू झन् महत्त्वपूर्ण हुन्छन् । विगतमा पश्चिमा सिद्धान्तकारहरूले संस्कृतिहरूबीच तुलना गर्दै आफूहरूको संस्कृति सभ्यताको स्तरमा पुगिसकेको र आफू इतरका पूर्वीय लगायतका बाँकी संस्कृतिहरू जङ्गली अवस्था वा त्यसबाट एक
खुड्किलो उक्लेर बर्बर अवस्थासम्म आइपुगेका छन् भन्ने डार्बिनवादी निष्कर्ष निकालेका थिए । तर यस लगत्तै अमेरिकी मानवशास्त्री फ्रान्ज बोआसले ‘सांस्कृतिक सापेक्षतावाद’को विचार अगाडि ल्याए, जसमा उनले असान्दर्भिक तुलनामा आधारित त्यस्ता निष्कर्षहरूको कडा आलोचना गर्दै त्यसलाई ‘एथ्नोसेन्ट्रिजम’ अर्थात् सांस्कृतिक पूर्वाग्रह भने । कुनै पनि संस्कृति वा त्यसका अवयवहरू जस्तै– खानपान, रहन–सहन, अभिवादन परम्पराहरूलाई त्यही संस्कृतिको ऐतिहासिकता र विशिष्टतामा बुझ्नुपर्छ भन्नु नै सांस्कृतिक सापेक्षतावादको सार हो । संस्कृतिहरूलाई दाँज्नु अवैज्ञानिक मात्र होइन, अमानवीय पनि हो, किनभने यसले उँच—नीचको भावना, असमझदारी, घृणा र द्वन्द्व बढाउन ठूलो योगदान गर्छ । इतिहासमा भएका धेरै नरसंहारहरू र युद्धहरू पनि यसका साक्षी छन् । अहिलेको महाव्याधिको सन्दर्भमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका घटनाहरूको फेहरिस्त हेर्दा घृणाको खेती निकै बढेको देखिन्छ । अमेरिका लगायतका देशहरूमा एसियाली र चिनियाँ मूलका जस्ता देखिनेहरूलाई दुर्व्यवहार गर्ने अनेकन घटनाहरू भइरहेका छन्, जुन मुख्य रूपमा सांस्कृतिक पूर्वाग्रहका परिणाम हुन् । अप्रिय र अपजसे काम भए पनि हामीकहाँ पनि यस्तो परिस्थिति उत्पन्न हुन नदिन हाम्रा सांस्कृतिक पूर्वाग्रहहरूलाई चिर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

खाद्य संस्कृति र ॅघिन’
कोभिड–१९ को सङ्क्रमण प्रारम्भदेखि नै यसलाई चीनका मान्छेहरूको खानपान संस्कृतिसँग जोडेर हेरिएको छ । यो महामारीको उत्पत्तिका लागि चीनका मानिसहरूका खानपान अर्थात् विशेषगरी जङ्गली र ‘अस्वाभाविक’ जीवजन्तुहरू खानु जिम्मेवार छ भन्ने तर्क अहिले पनि बलियो छ । अझ उनीहरूलाई जथाभावी गरेको र खाएकोमा प्रकृतिले सजाय दिएको भन्नेसमेत धारणाहरू आएका छन् । यस्ता भाष्य (न्यारेटिभ) निर्माण गर्न सञ्चार माध्यम विशेषगरी सामाजिक सञ्जालको ठूलो भूमिका छ । निश्चय पनि हाम्रा खानपान र बानी–व्यवहारहरूले खास प्रकारका रोगहरू लाग्ने जोखिमलाई कम वा बढी गराउँछन् । तर यस सन्दर्भमा अरुका खानपानहरूप्रतिको नकारात्मक धारणाको स्रोत भनेको त्यही सांस्कृतिक पूर्वाग्रह नै हो । वास्तवमा अरूले खाने वस्तुप्रतिको हाम्रो ‘घिन’ प्राकृतिक नभएर सांस्कृतिक हो, अर्थात् सिकिएको हो । यसलाई बुझाउन मानवशास्त्री मेरी डग्लसले एउटा अत्यन्त सरल उदाहरण सुझाएकी छन् । जस्तो कि हाम्रो मुखमा रहेको र्‍याल मुखभित्र रहँदा वा त्यसलाई निल्दा हामीलाई कुनै घिन लाग्दैन । तर आफ्नै र्‍याल कुनै भाँडा (जस्तै चम्चा) मा बाहिर निकालेर हामीलाई फेरि निल्न भनियो भने हामी त्यसो गर्न सक्दैनौं वा घिन मान्छौं, भलै मुखभित्र रहेको र्‍याल र चम्चामा रहेको र्‍याल तात्त्विक रूपमा फरक छैनन् । यसबारे ‘आफैले थुकेको आफैले चाट्ने’ भन्ने उक्तिमा रहेको अन्तरनिहित विम्बले नै धेरै कुरा बोलेको छ ।
हाम्रा संस्कृतिहरूमा जीवजन्तु खाद्यस्रोतहरू मात्र नभएर धार्मिक परम्परा र संस्कारहरूसँग अभिन्न रूपमा जोडिएका छन् । फरक—फरक समूहले फरक—फरक जीवजन्तु र तिनका मासुलाई देवी–देवताका प्रसादका रूपमा समेत ग्रहण गर्छन् । फलस्वरूप केही मात्रामा एक—अर्काका खाद्य संस्कृति र बानी–व्यवहारहरूप्रति हामीभित्र पनि भेदभावपूर्ण सोचाइ र व्यवहार देखिन्छ । सोझो अर्थमा हाम्रा खानपान ‘असल’ वा सामान्य र अरूको ‘कमसल’ वा ‘असामान्य’ भन्ने सोचाइमा मूल रूपमा त्यही सिकाइएको घिनको मनोविज्ञानले काम गरिरहेको हुन्छ । अर्कोतर्फ विशेष खानपान संस्कृति वा हाम्रा खास बानीहरूले गर्दा अहिलेसम्म हामीलाई यो महाव्याधिले छुन नसकेको हो भन्ने धारणा पनि निकै प्रबल देखिएको छ । हाम्रो खानपानमा लसुन, बेसार आदि औषधीय गुणयुक्त मसला संलग्न भएकोले यो रोगको सङ्क्रमण नभएको हो भन्ने मतहरू निरन्तर सम्प्रेषण भइरहेका छन् । हामीसँग सांस्कृतिक सादृश्यता राख्ने छिमेकी राष्ट्र भारतमा गाईको गहुँतले कोरोना सङ्क्रमण निको पार्छ भन्ने धारणासमेत जोडतोडका रूपमा प्रचार गरिएको छ । निश्चय पनि यी हाम्रा भोजनका नियमित अङ्ग वा सांस्कृतिक महत्त्वका पदार्थहरूका रूपमा रहेका छन् र स्वास्थ्यका लागि उपयोगी पनि होलान् । तर त्यसैलाई टेकेर कोभिड–१९ जस्ता नवीन संक्रमणबाट यिनले बचाउँछन् भन्ने तहको निष्कर्षमा पुग्नु तथ्यको अतिरञ्जना हो । आफ्ना संस्कृतिप्रति हाम्रो भावनात्मक लगाव हुन्छ, तर कहिलेकाहीं त्यसमा आधारित विश्वास र अवधारणाहरू रोगको सन्दर्भमा खतरनाक पनि हुन् सक्छन् । वास्तवमा आफ्ना संस्कृतिप्रति लगाव र मोह हुनुमा कुनै समस्या छैन । यस सन्दर्भमा मानवशास्त्रले सांस्कृतिक विविधता जैविक विविधता जत्तिकै महत्त्वपूर्ण हुन्छ भने मान्यता राख्छ । तर संस्कृतिलाई नै पूर्वाग्रह र भ्रमको स्रोत बनाइयो भने विशेषगरी स्वास्थ्यको सवालमा त्यसले निकै जोखिमपूर्ण अवस्था सिर्जना गर्छ । अझ यस्ता अवधारणा र भ्रम त्यतिबेला झन् खतरनाक हुन्छन्, जब यसले रोकथाम र उपचारमा लापरबाहीलाई प्रेरित गर्छन् । यो स्तरको ठूलो सङ्क्रमणप्रतिको हाम्रो सुस्त प्रतिक्रिया र ‘देखा जाएगा’ को मनोविज्ञान बलियो हुनुमा यस्ता सोचाइ र बुझाइहरू पनि जिम्मेवार छैनन् भन्न सकिन्न ।

भ्रम र घृणा विषाणुहरूका जनस्वास्थ्य जोखिमहरू
सङ्क्रामक रोगहरू र विशेषगरी यस्ता ठूला महामारीको बेला पूर्वाग्रह सिञ्चित भ्रम र घृणाको खेतीले धेरै नकारात्मक असरहरू पार्ने गर्छ । यसले अप्रत्यक्ष रूपमा सङ्गठित प्रयासहरूलाई कमजोर बनाउने मात्र नभई प्रत्यक्ष रूपमा नै महामारीको व्यवस्थापन प्रक्रियालाई जटिल बनाउने गर्छ । नेपालमा कतिपय रोगहरूसँग सम्बन्धित भ्रम र घृणा (स्टिगमा) ले त्यस रोगको निदान, रोकथाम र उपचार प्रक्रियालाई निकै जटिल बनाएको तथ्य जगजाहेर छ । उदाहरणका लागि कुष्ठरोग, टिबी, एचआईभी आदि स्वास्थ्य समस्याहरूसँग सम्बन्धित भ्रम र घृणाहरूले गर्दा बिरामीहरूले रोग लुकाउने र समयमा उपचार नखोज्नाले ठूलो जटिलता सिर्जना गरेको छ । मानसिक रोगहरूको निदान र उपचारमा पनि यसले निकै ठूलो चुनौती खडा गरेको छ । कोभिड– १९ को
सङ्क्रमणको सन्दर्भमा यस्तो खतरा झन् बढी छ । यस सङ्क्रमणलाई जुन रूपमा हाम्रो समाजमा चित्रित गरिएको छ र अवधारणाहरू निर्माण गरिएको छ, यसले सङ्क्रमण भएको लुकाउने र नस्वीकार्ने प्रवृत्तिलाई बल पुर्‍याउँछ । यस्तो अवस्थामा सङ्क्रमणले भयावह रूप लिन सक्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । सङ्क्रमणको शङ्कामा ‘आइसोलेसन’मा (छुट्टै–भिन्न) राखिएका व्यक्ति भागेको घटनाले पनि यस तथ्यलाई थप बल पुर्‍याउँछ । वास्तवमा यस्ता घटनाहरूलाई व्यवस्थापकीय कमजोरीसँग मात्र जोडेर बुझ्नु ठूलो गल्ती हुनसक्छ । डराउने, लुकाउने र छिछि–दुरदुर गर्ने प्रवृत्ति देखिए यसले सम्भावित सङ्क्रमण व्यवस्थापनमा निकै ठूलो चुनौती थप्न सक्छ । जैविक विषाणु कोभिड– १९ ले ल्याउने सङ्कटमा भ्रम र घृणाका विषाणुहरूले परिस्थितिलाई अझ जटिल बनाउने निश्चित छ । तसर्थ यो महाव्याधि सम्बन्धी भ्रम र घृणाहरूको सङ्क्रमणलाई पनि बेलैमा कम गर्दै जानसके यसले साघारमा आएको सम्भावित महासङ्क्रमणसँग लड्न धेरै ठूलो सहयोग गर्न सक्छ भन्ने कुरामा कुनै शङ्का नराखे हुन्छ ।

जनार्दन थापा
थापा पृथ्वीनारायण क्याम्पस, पोखरामा (चिकित्सकीय) मानवशास्त्र अध्यापन गर्छन् ।

विविधा

कोरोनाको मानव यात्रा

 

विषाणु आतंकका कारण २१ औं शताब्दीको सुरुवाती दशकहरू मानव स्वास्थ्यका लागि निकै चुनौतीपूर्ण बने । सन् २००२ को ‘सार्स’, २००९–२०१० मा फैलिएको ‘स्वाइन फ्लु’, २०१२ को ‘मर्स’, २०१३ मा ‘इबोला’, र अहिले विश्व समुदायलाई चपेटिरहेको कोरोना विषाणु (कोभिड–१९) २० वर्ष यताका भयानक महामारी हुन् । अप्रत्यासित निस्किएका यी रोगहरूले मानव स्वास्थ्यलाई असर त पुर्‍याएको छ नै, सँगसँगै आधुनिक विज्ञानलाई समेत चुनौती दिएका छन् । उपयुक्त उपचार पद्धतिको विकास नहुनु थप चुनौती हो । यद्यपि मानवमै कतिपय विषाणुसँग लड्न सक्ने क्षमताको पनि विकास हुँदै आएको तथ्य अनुसन्धानले देखाउँदै आएका छन् । तर जीवाणु र विषाणुहरूले अप्रत्यासित रूपमा
आफ्नो स्वरूप परिवर्तन गरिदिन्छन् । अनि यस विरुद्ध लड्न सक्ने क्षमता नहुनाले बेला–बेलामा यी रोगले महामारीकै रूप लिन्छन् ।
अहिले कोरोना भाइसरको मूल स्रोतका विषयमा धेरै भ्रम देखिएको छ । त्यसैले कोरोना विषाणु कहाँबाट आयो भन्ने प्रसंग यो लेखमा उठाउन खोजिएको छ । मानिस, जनावर र पन्छी बीचको अन्तरक्रिया अनादिकालदेखि नै चल्दै आएको हो । जीव विकासक्रमको इतिहासलाई हेर्दा अहिलेका धेरै घरपालुवा पशुपन्छी कुनै समयमा जङ्गली थिए । मानवको जङ्गली जीवजन्तुसँग नजिक हुने सिलसिला अझै टुटेको छैन । मानिसले आफ्नो विकासक्रममा धेरै ठूला आरोह र अवरोह पार गरेको छ । ६ हजार वर्ष पहिलेको तुलनामा मानिसले आफ्नो आकार–प्रकार, बुद्धि–विवेक र क्षमतामा धेरै परिवर्तन गरेको छ । र यो सिलसिला अनन्त कालसम्म चलिनै रहनेछ । चार्ल्स डार्बिनको सिद्धान्तबाट हामीले जीवजन्तुको विकास क्रमबारे सजिलै बुझ्न सक्छौं । दर–पिढीमा पैत्रिक गुण वितरण र नश्लमा हुने आनुवंशिक उत्परिवर्तनलाई ग्रेगर मेण्डलले पनि राम्रैसँग व्याख्या गरेका छन् । मानव हुन् या पशुपन्छी वा सूक्ष्म जीव नै किन नहुन्, यी सबैमा विषाणु–गुणसूत्र वितरण र आनुवंशिक उत्परिवर्तनको नियम लागू हुन्छ । सबैको एउटै उद्देश्य धर्तीमा आफ्नो उपस्थिति कायम गराइराख्नु हो । आनुवंशिक उत्परिवर्तनबाट अस्तित्व बनाएको नयाँ विषाणु कोरोना हो । यो विषाणु प्राकृतिक स्रोत, माध्यम अनि मानव बीचको अन्तरक्रियाबाट जन्मिएको हो । विषाणुहरू कुनै निश्चित प्राकृतिक स्रोतमा अनादिकालदेखि नै यो धरतीमा छन् । तर प्राकृतिक उद्गमबाट जनावरमा सर्नु वा हामी मानवसम्म आइपुग्नुमा हाम्रै क्रियाकलाप जिम्मेवार छ ।
झन्डै १०२ वर्षअघि अर्थात् सन् १९१८ मा महामारीको रूपमा देखापरेको ‘स्पेनिस फ्लु’का कारण दसौं लाख मानिसको मृत्यु भयो । मर्नेहरूमा २०–४० उमेर समूहका युवा धेरै थिए । अमेरिका लगायत धेरै युरोपेली राष्ट्र यसबाट प्रभावित बने । स्वाइन फ्लुको प्रकारमध्येकै मानिएको यो रोगको विषाणुले आफ्नो आनुवंशिक संरचनामा कहाँ परिवर्तन गर्‍यो र कसरी महामारीको रूपमा लियो अझै पनि अज्ञात छ । स्वाइन फ्लुको अर्को महामारी २००९ मा दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोबाट सुरु भएको थियो । यो विषाणु, सुँगुर, चरा र मानव बीचको अन्तरक्रियाबाट पुनर्संयोजन भई नयाँ आनुवंशिक स्वरुपमा मानवमाझ फैलिएको थियो । यसपछिको अर्को महामारी इबोला विषाणुका रूपमा २०१३ डिसेम्बरबाट अफ्रिकी राष्ट्र गुइनियाबाट फैलिएको थियो । यसलाई पनि पशुजन्य रोगकै रूपमा मानियो । यद्यपि यसको प्राकृतिक मूलस्रोत के हो भन्ने तथ्य अझै पनि स्पष्ट छैन । इबोला एक अफ्रिकी बच्चाबाट फैलिएको विश्वास गरिन्छ । केही वैज्ञानिकहरूले यस्तो मानव प्रकोपलाई जङ्गली जनावर गोरिल्ला र चिम्पाञ्जीमा भएको प्रकोपसँग गाँसेर हेरे । केही वैज्ञानिक चमेरोलाई यसको कारण मान्छन्, किनकि यो चमेरोमा इबोला विषाणुसँग मिल्ने केही आनुवंशिक सङ्केतहरू छन् । पुच्छर नभएको एक प्रकारको चमेरो पनि यो विषाणुको प्राकृतिक स्रोत हुनसक्छ भन्ने केही वैज्ञानिकको मान्यता छ ।
२००२ मा दक्षिण चीनमा देखापरेको ‘सार्स’, २०१२ मा मध्यपूर्वमा देखापरेको ‘मर्स’ र गत वर्षको डिसेम्बरको अन्तिम हप्ताबाट चीनको वुहानमा देखापरेको कोभिड– १९ विषाणुको प्राकृतिक स्रोत चमेरो नै हो भन्ने आम वैज्ञानिकहरूको एकमत छ । जुन विषाणु प्राकृतिक स्रोत ‘चमेरो’, माध्यम र मानव बीचको अन्तरक्रियाबाट आनुवंशिक संरचना परिवर्तन गर्दै नयाँ स्वरुपमा जन्मिएको हो । अस्ट्रेलिया र पूर्वी एसियामा देखापरेको विषाणुहरू जस्तै– ‘हेन्ड्रा’ र ‘निपा’को प्राकृतिक स्रोत पनि चमेरो नै हो भन्नेमा धेरै वैज्ञानिक सहमत छन् । चिनियाँ वैज्ञानिक वेन्दोङ लीको २००५ मा ‘साइन्स’ जर्नलमा प्रकाशित अनुसन्धानले भन्छ, चमेरोमा यस्ता अन्य विषाणुहरू पनि हुन सक्छन्, जुन अझैसम्म देखापरेको छैन । उनले कोरोना सँगसँगै अन्य विषाणु (हेनिपा), जसले आफ्नो आनुवंशिक संरचना परिवर्तन गर्दैछ र यसले प्रकोपको सम्भावना निम्त्याउँछ भनेर त्यो बेला औंल्याएका थिए । धेरै वैज्ञानिक चमेरामा रहेको ‘सार्स’ सम्बन्धित कोरोना विषाणुले मानवलाई संक्रमण गर्नसक्ने क्षमता राख्छ भन्नेमा सहमत छन् । चीनको ग्वाङतोङ प्रान्तमा २००२ मा ‘सार्स’ देखा नपरुन्जेल कोरोना विषाणुलाई रोगजन्य मानिएको थिएन । २०१८ मा ‘नेचर’ जर्नलमा प्रकाशित अर्का चिनियाँ वैज्ञानिक चिए छुईको अनुसन्धानमा, यसअघि कोरोना विषाणुले हल्का संक्रमण गर्थ्यो वा मानव प्रतिरक्षा प्रणाली त्योसँग लड्न सफल थियो भन्ने कुरा उल्लेख छ ।
जङ्गली विषाणु कसरी मानव समुदायसम्म आइपुग्छ त ? यसलाई बुझ्न विगतका केही तथ्य र घटनाक्रम हेरौं । ‘सार्स’को प्रकोपको बेला चीनको युनान प्रान्तमा संक्रमणका कुनै बिरामी भेटिएका थिएनन् । प्रकोप सुरु हुनुअघि कोरोना विषाणु पहिले जनावरको संसर्गमा रहेको थियो भन्ने तथ्यलाई पुष्टि गर्ने विभिन्न आधार छन् । विषाणुलाई जनावरको कारोबार गर्ने व्यापारीसम्म पुर्‍याउने काम बिरालोले गर्‍यो । त्यो संक्रमित बिरालो चीनको ग्वाङतोङ बजारमा पुग्यो । मानवमा फैलनु अघि विषाणुमा थप उत्परिवर्तन भयो र घातक बन्यो । वैज्ञानिक छुई र उनको समूहले गरेको अनुसन्धानले भन्छ, मानवसँग सरोकार रहेको त्यो कोरोना विषाणुको प्राकृतिक स्रोत चमेरो नै हो । र मानवमा आइपुग्न बिरालो माध्यम बन्यो । बिरालोमा पाइएको ‘सार्स’ कोरोना विषाणु चमेरोबाट सरेको थियो । यस्ता धेरै प्रमाण चीनका विभिन्न प्रान्त लगायत, युरोप, अफ्रिका र दक्षिण एसियाली राष्ट्रमा पनि पाइएका छन् । ‘सार्स’ सम्बन्धित कोरोना विषाणु ठूलो भौगोलिक क्षेत्रमा छरिएको छ र चमेरोमा यो निकै पहिलेदेखि थियो भन्ने प्रस्ट छ ।
२०१२ मा देखापरेको ‘मर्स’ कोरोना विषाणुलाई चमेरोबाट मानवसम्म आइपुग्नुमा वैज्ञानिकहरूले संक्रमित ऊँटलाई जिम्मेवार ठहर्‍याएका छन् । मध्यपूर्वी राष्ट्र, अफ्रिका र दक्षिण एसियाली राष्ट्रमा पाइने ऊँट धेरै अघिदेखि ‘मर्स’ कोरोना विषाणुका लागि चाहिने पर्याप्त रोग प्रतिरोधात्मक क्षमता छ भन्ने मान्यता वैज्ञानिकमा छ । यसको अर्थ ऊँटमा धेरै समय अघिदेखि यो विषाणु विद्यमान थियो भन्ने नै हो । ३० वर्षअघि, अर्थात् सन् १९८३ मा एम.ए. मुल्लर र उनको समूहले गरेको अध्ययनले पनि यो तथ्यलाई पुष्टि गर्छ । चिए छुईले सन् २०१८ मा गरेको अध्ययनले भन्छ, त्यो बेला महामारीको रूपमा रहेको ‘मर्स’ कोरोना विषाणुको प्रभाव पनि आक्रामक र कम आक्रामक गरी २ तरिकाले देखिएको थियो । मध्यपूर्वी राष्ट्र जस्तै– संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, ओमान, जोर्डन अनि एसियाली मुलुक दक्षिण कोरिया र थाइल्यान्डका मानव समुदायमा यो महामारीको रूपमा देखापर्‍यो । तर अफ्रिकी राष्ट्र, नाइजेरिया, बुर्किना फासो, इथियोपिया लगायत राष्ट्रमा विषाणुले मानवमा संक्रमण गरेन । यद्यपि यी दुवै विषाणुको पूर्वज एकै भए पनि भौगोलिक रूपमा मानव संक्रमणमा भने विविधता देखियो ।
अहिले फैलिएको कोभिड–१९ का सन्दर्भमा, चिनियाँ वैज्ञानिक स्याओलु थाङ र उनको समूहको नयाँ कोरोना विषाणु सम्बन्धी अनुसन्धान पत्र भर्खरै (२०२०) मा ‘माइक्रोबायोलोजी’ जर्नलमा प्रकाशित छ । उनीहरूको अनुसन्धान विवरणले भन्छ— ‘कोभिड–१९ विषाणु खतरनाक बन्नुको कारण आनुवंशिक संरचनामा यसका विभिन्न जात र उपभेदको पुनर्संयोजनका अतिरिक्त, उत्परिवर्तन र प्राकृतिक छनोट नै हो ।’ अहिले यो विषाणुको प्रभाव पनि ‘मार्स’ कोरोना विषाणुको जसरी नै आक्रामक र कम आक्रामक गरी २ रूपमै पर्‍यो । सुरुवाती चरणमा आक्रामक प्रकारको विषाणु वुहानमा देखापर्‍यो र क्रमशः फैलिँदै गयो । तर दोस्रो प्रकारको विषाणु जसलाई विकासक्रमको आधारमा पुरानै मानिएको छ, उसको आवृत्ति क्रमशः जनवरीको सुरुआतबाटै घट्न थाल्यो । र यसको असर थोरै देखियो । यद्यपि यी दुवै प्रकारका (आक्रामक र कम आक्रामक) विषाणुको पूर्वज भने एकै हो, जुन चमेरोमा संग्रहित छ । यसलाई वैज्ञानिकहरूले आनुवंशिक अनुक्रमहरूको तुलनाबाट पनि पुष्टि गरिसकेका छन् । कोभिड–१९ विषाणु वुहानको स्थानीय समुद्री खाद्यपदार्थ, जङ्गली जनावर र जीवित कुखुराको बिक्री–वितरण गर्ने बजारबाट फैलिएको विश्वास गरिन्छ । तर मानवमा कसरी सर्‍यो अर्थात् यसका लागि बीचको मध्यम के हो भन्ने अझै प्रस्ट भइसकेको छैन ।
गएको २ दशक यताबाट ‘सार्स’ सम्बन्धित कोरोना विषाणुले विश्वमा ठूलो आर्थिक क्षतिमात्र पुर्‍याएको छैन, मानव बुद्धि र विवेकलाई समेत ठूलो चुनौती दिएको छ । जीवजन्तुमा हुने आनुवंशिक परिवर्तन, चाहे सूक्ष्म जीव होस् या विशाल, नितान्त प्राकृतिक नियममै पर्छन् । विषाणुमा आएको यो परिवर्तन घातक र चुनौतीपूर्ण बन्नुको कारण हो, मानवबाट मानवमा सर्नु । र विषाणुलाई प्राकृतिक स्रोतबाट मानवमा सार्ने माध्यम हामी नजिकैका जीवजन्तु हुन् । र सधैं हाम्रै वारिपरि रहने तिनै जीवजन्तुहरू आफै पनि यस्ता विषाणुबाट संक्रमित हुने गरेका छन् ।

डी.बी. कट्टेल
कट्टेल बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेसका सहप्राध्यापक हुन् ।

Page 9
विविधा

नेपाल देश र मान्छे

यो देशमा कस्ता मान्छे चिनिन्छन्, कस्ता मान्छे चिनिँदैनन् भन्नुको खास अर्थ हुन्छ । यो देशका केही चिनिएका र केही नचिनिएका मानिसहरुबारे लेखिनु एक उत्तेजक विषय हुनसक्छ ।
- अभि सुवेदी

 

देश र मान्छेको सम्बन्ध संकट परेको बेला तीव्र हुन्छ । देश चलाउने सरकार र जनताको सम्बन्ध यस्तै बेला कहिल्यै नभएको पाराले परिभाषित हुन्छ । त्यस्तो बेला एउटा साझा समस्याको परिभाषा गरिन्छ । अनि त्यसको निदानका उपायहरू खोजिन्छ । सरकार, राजनीति गर्ने र शक्ति हत्याएर बस्नेहरूका त्यस्तै बेला परीक्षा हुन्छ । अहिले कोरोना भाइरसको प्रकोप परेका बेला नेपालमा सरकारको के पाठ हुन्छ भन्ने विषयमा चिन्तन हुन थालेका छन् । यो प्रकोपले विश्व आक्रान्त भएको बेला नेपाल योसँग जुध्ने कार्यक्रमहरू घोषणा गरिरहेको छ । तर पनि यो अति भयानक र चुनौतीपूर्ण हो भन्ने कुराको बोध अहिले त्यति व्याप्त हुन सकेको अवस्था हो कि होइन भन्ने कुरा अब हाम्रै व्यवहारले देखाउनेछ । यस्तो बेला सफा आचरण, पारदर्शी नीति भएका क्रियाशील सरकार र दलहरूको अपेक्षा गरिन्छ । यस्तो बेला सर्वसाधारण जनता र सरकार चलाउने र शक्ति खेलाई बस्नेहरूको बीचमा कत्तिको समझदारी बन्छ, त्यसैबाट सबै कुरा बनिने र बिग्रिने हुन् । नेपालका मेडिकल डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरू धेरै कुशल छन् भन्ने कुरामा शंका छैन । तर पनि अस्पताल कहाँ र कसले खोल्ने, दूरदराजमा खोल्ने कि नखोल्ने जस्ता कुरादेखि लिएर यसमा लगानी गरिने धन र खेलमा राजनीति कसरी जोडिँदै आएको छ भन्ने कुराले यो क्षेत्र आक्रान्त हुँदै आएको हो ।
बीसौं र यो एक्काइसौं शताब्दीमा निस्केका रेकर्डहरूले देखाएका छन्, मानिसले हताहत गरेका एक चौथाइ जतिमात्र नरनारी प्राकृतिक प्रकोपमा मरेका छन् । अंग्रेजी उपनिवेश उत्तरको छोटो समयमा बीसौं शताब्दीका चालीस र साठीका दशकहरूमा भारत, पाकिस्तान र बंगलादेशहरू बनिए । यी राज्य बनिने क्रममा मानिसबाट नै हताहत भएका लाखौंलाखको अनुपातमा प्रकृतिबाट मारिएका मानिसको संख्या अत्यन्त थोरै छ । बरु प्रकृतिको प्रकोप बढेको बेला मानिसले सर्वसाधारण जीवन भोग्नेहरूलाई झन् कठिन परिस्थिति बनाइदिएका उदाहरण छन् । नेपालकै उदाहरण लिएर हेरे हुन्छ । गएका बीस–पच्चीस वर्षमा नेपालले गृहयुद्ध झेल्यो । महाभूकम्पको विनाश भोग्यो । तर पनि मानिसबाट मानिसको हताहत भएको संख्या नै बढी छ । अनि इतिहासको पद्धति हो, मानिसले मानिसको हताहत गरेको विषय पछिबाट छलफल हुन्छ । त्यसको निदान गर्ने अनि त्यसबाट पीडितले न्याय पाउने साथै विस्थापितहरूको व्यवस्था गर्नुपर्ने कुरा चक्रवातजस्तो गरेर अगाडि आउँछन् । दक्षिण अफ्रिकाको सत्यनिरुपण र मेलमिलाप कार्यक्रमको अनुकरण गर्ने नेपाल ठूलै अलमलमा परेको छ । भूकम्पले ढालेका थलोहरू र क्षति लगभग निश्चित हुन्छन् । त्यसबाट हताहत भएकाहरू सम्झना, वर्णन अनि चित्रमा भेटिन्छन् । तिनले भोगेका विपद् कसैले लुकाउन सक्दैनन् । अर्कोतिर युद्धमा हताहत हुनेहरू सम्झनामा हुन्छन्, तर ती विलयन भएकाहरूका थातथलो भेटिँदैनन् । अझ सरकारमा को छन् भन्ने कुरा मुख्य कारक हुन्छ । खोज गर्ने र समाधान खोज्ने विषयमा सरकार असहयोगी भयो भने त त्यो विषय झन् जटिल हुन्छ ।
यो नेपाल देशका मान्छेले कस्ता जितहरू जिते अनि कस्ता हारहरू भोगे, कस्ता विपद्का सामना गरे अनि कस्ता आशाहरू साकार गरे जस्ता कुराको लेखाजोखा गर्ने खासै केही आधार छैनन् । त्यसो त यो अरु देश र समाजको पनि अनुभव हो । तर हामीले नेपाल देशकै अनुभवबारे सोच्नु र कर्मशील हुनुछ । एउटा कुरा भनिहाल्नुपर्छ । देशले भोगेका अनुभव भन्नाले व्यक्तिहरूका अनुभवलाई बुझ्नुपर्छ । यो देशमा कस्ता मान्छे चिनिन्छन्, कस्ता मान्छे चिनिँदैनन् भन्नुको खास अर्थ हुन्छ । यो देशका केही चिनिएका र केही नचिनिएका मानिसहरूबारे लेखिनु एक उत्तेजक विषय हुनसक्छ । म जस्तो एक साहित्यिक मानिसलाई अमूक व्यक्ति अनेकौं किसिमले चाखलाग्दो हुनसक्छ । उसमाथि टाँगिएको आकाश कस्तो छ, ऊ धरतीको कस्तो कुनामा बस्छ, ऊ आफ्नो र अरुको जिजीविषा कसरी जुटाउँछ, ऊ कसरी बनिएका घरमा बस्छ, अनि उसले साना हुरीले जस्तो गरेर आफ्ना सपना खेद्दै कसरी समय गुजारिरहेछ, ऊ कस्ता विचार गर्छ, पृथ्वीलाई कसरी वरण गर्छ, अनि घाम, जून र ताराहरूले उसको जीवनमा कसरी खेल खल्छन् र ऊ आफ्ना कुरा अरुमाथि कसरी लागू गर्न चाहन्छ, ती एक साहित्यकारका निम्ति चाखका विषय हुन् ।
तर जब यो देशका ती मान्छेहरूमाथि अहिलेका युवाहरूले चाख राख्छन्, तिनले तिनै मानिसहरूका अरु पक्षहरूलाई वर्तमानको सन्दर्भमा बुझ्न र प्रयोग गर्न खोजेको बुझिन्छ । ती इतिहासका पाइतालाका डोबहरू यहाँसम्म कसरी आइपुगेका छन्, हेर्न चाहन्छन् । जस्तो कि ती उन्नाइसौं शताब्दीमा जर्मनमा जन्म लिएर विचार फैलाएका कार्ल मार्क्सले एक्काइसौं शताव्दीका यी दुर्दान्त वर्षहरूसम्म आफ्ना चेलाचपेटाहरूका शिरमाथि कसरी आशिर्वादका औंलाहरू चलाइरहेका छन्, हेर्न चाहन्छन् । सादा जिन्दगी बाँचेका, अंग्रेजी परिधान बहिष्कार गर्दै आफैंले बुनेको खादीको कपडाले बेरिएर अरबी समुद्रको दान्डीसम्म लाखौं सहयात्रीसहित २३९ माइलको पैदल यात्रा गरेर ब्रिटिसराज थर्काउने महात्मा गान्धीका चेलाहरूले अहिले कस्ता अवतार फेरेका छन्, हेर्न चाहन्छन् । नेपाली समाजमा अनेकौं व्यक्तित्व र तिनका कर्मबारे लेख्न सहज देखिए पनि यो विषय जटिल छ । तिनका विचारले कस्ता परिवर्तन ल्याएका छन् वा त्यसलाई बाधा गरेका छन्, तिनबारे जान्ने चाहनाले म जिन्दगीमा अभिप्रेरित भइआएको छु ।
नेपालको समाज परिवर्तन गर्ने कर्म गर्नेमा लेखक, राजनीतिकर्मी, कलाकार, संगीतकार, राजनीतिज्ञ, वास्तुविद र ‘एलिट’ भन्ने शब्दले चिनिने वर्ग र मानिसहरूको एउटा कलेवर छ । एउटा मौन, कहिलेकाहीं उत्ताल, सहनशील र दृष्टि बनाउँदै–भत्काउँदै बसेको वर्ग छ, जो हिजो पनि थियो र आज पनि छ । मैले यस्ता व्यक्तिहरूलाई कसरी भेटेँं, कहिले भेटेंँ, अनि ती कस्ता थिए भन्ने कुरा लेख्ने मेरो सधैं चाहना रहिआएको छ । मैले आफू विद्यार्थी अवस्थादेखि यस्ता मानिसहरूले समाजमा खेलेको भूमिकाबारे चाख र जानकारी राखिआएका निकै दशक भइसकेछन् । पञ्चायतकालमा नै नेपालका एलिट को हुन् भन्ने विषयमा बहस भएका थिए । मेरा गुरु स्व. कमलप्रकाश मल्लले यो विषयमा बहस चलाएका थिए । ‘बसुधा’ भन्ने अंग्रेजी पत्रिकामा उनले यस विषयका बहस उठाएपछि केही चर्चा भएका थिए । त्यसमा उनका समकालीन स्व. हर्क गुरुङले अनि केही समयपछि स्व. डी.पी. भण्डारीले भाग लिएका थिए । पञ्चायतकालको एकतन्त्री शासन पद्धतिभित्र स्वतन्त्र रूपले नेपाली मानिसका चरित्रबारे थोरै भए पनि बहस भएको कुरा चाखलाग्दो थियो । त्यही बेला नेपाली पात्रहरूभन्दा भिन्न बाहिरी पात्रहरू नेपालमा नै भेटेका मेरा अनुभवहरू छन् । खासगरी नेपालमा सन् साठी र सत्तरीका सुरुका वर्षहरूमा नेपालमा घुम्न आएका हिप्पीहरूले गर्दा पात्रहरू फरक–फरक हुनेरहेछन्, अनि तिनका वैश्विक सपना र भ्रमहरूको पनि महत्त्व हुनेरहेछ भन्ने मलाई बोध भएको हो ।
नेपालमा अर्कोथरी मानिसहरू भनेका सिर्जनशील व्यक्ति हुन् । म एक साहित्यकार र नाट्यकर्मी भएको हुनाले यी मानिसहरूको समाजमा प्रभाव बलियो भइआएको छ भन्ने कुरामा मलाई विश्वास छ । लेखक, संगीतकार र कलाकार मानिसहरूले नेपालमा एकतन्त्रीय र सामन्ती शासन पद्धतिभित्र पनि स्वतन्त्र चिन्तनको निम्ति काम गरेको लामो परम्परा छ भन्ने मेरो धारणा छ । अक्टोबर २०१९ मा टोरन्टो विश्वविद्यालयको निमन्त्रणामा मैले यही विषयमाथि लामो पत्र प्रस्तुत गरेको थिएँ । यताको भेगका विज्ञ प्राध्यापकहरूले मसँग जमेर छलफल गरेका थिए । उनीहरूले सोधेका थिए, मेरो विचारमा नेपाली समाजका महत्त्वपूर्ण मानिसमा राजनीति गर्ने मानिसहरू किन धेरै पर्छन् ? के नेपाली समाज धेरै परम्परागत संस्कृतिमुखी हो ? मैले यसमा सिर्जना गर्नेहरूका ऐतिहासिक स्वतन्त्रतामुखी पाठको चर्चा गरेँं । मैले भनेँ, नेपाली समाज एउटा सामन्ती युगबाट राम्ररी निस्किन नसकेको अवस्थामा छ । नेपाल देश बुझ्न यहाँका जातजाति, हैकम चलाउने वर्ग, वर्गीय र लैङ्गिक विभेद गर्नेहरू, अनि सीमान्त मानिसहरू, राजनीति गर्ने, सिर्जना गर्ने सबैको अवस्थाबारे अध्ययन गर्नुपर्छ । यो विषयमा धेरै अध्ययन भएका छन्, जुन कुरामा उनीहरूमध्ये कति जनालाई राम्ररी जानकारी भएको कुरा उनका किताब र लेखहरूले देखाउँछन् ।
मैले आफ्नो अध्ययनका विषय, स्मृति र कामलाई आधार राखेर भन्ने केही कुराहरू छन् । तर ती कुरा म आफूले युगको संघार र बलेंँसीमा भेटेका मानिसहरूका कथासँग जोडेर राख्नु उपयुक्त ठान्छु । म आगामी लेखहरूमा त्यस्ता व्यक्तिहरूलाई लिन लागेको छु । तिनका वरिपरि घुम्ने समय र तिनका साना–ठूला कर्महरूबारे लेख्नेछु । एउटा मान्छेदेखि अर्को मान्छेसम्म बनिएको इन्द्रेनी हो, समय । नेपाली समय मानिसहरूका जीवनको कथा हो । अमूक मानिसका कति सन्तान र नातागोता थिए भन्ने विषय नभई तिनको वरिपरि कस्तो राजनीति, कस्तो संगीत, कस्ता कविता र उपन्यास, कस्ता चित्रका रङहरू थिए र तिनका यात्रा कस्ता थिए भन्ने विषयमा लेख्ने विचार छ । यस्तै कथालाई महाकवि देवकोटाले इतिहासमा टाँगिएका इन्द्रेणी भनेका थिए ।

विविधा

गुराँस फाँडेर कोरिडोर !

- अर्जुनबाबु माबुहाङ

 

राष्ट्रिय गौरवको आयोजना मानिने कोशी कोरिडोर (२२० केभीए प्रसारण लाइन) ‘गुराँसको राजधानी’ तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्र भएर विस्तार गरिँदैछ । प्रसारण लाइनको ‘राइट अफ वे’ ३० मिटर (दायाँ–बायाँ १५–१५ मिटर) तोकिएको छ । एंगल टावर र सस्पेन्सन टावर (करिब एक रोपनी ढाक्नेगरी बनाइएको बिजुलीको खाँबो) राख्न डोजर लगाएर खाल्डाहरू खन्ने काम भइरहेको छ । रुख कटानका लागि नम्बरिङ भइसकेको छ । टाँचा लगाउन सामुदायिक वनहरूलाई डिभिजन वन कार्यालयले पत्राचार पनि गरिसकेको छ ।
तेह्रथुमको लालीगुराँंस नगरपालिकाको टुटे सबस्टेसनदेखि ताप्लेजुङको ढुंगेसाँघुसम्ममा प्रसारण लाइन विस्तार गर्न १७ हजार २ सय ६९ वटा रुख काटिने आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणले देखाएको छ । त्यसमा पनि लालीगुराँस बढी काटिनेछन् । क्षतिपूर्तिस्वरुप एक रुख काटिए बापत दुइटा बिरुवा रोपिने भनिएको छ । टुटेको जालपा आधारभूत विद्यालय, चौकीको तीनजुरे प्राथमिक विद्यालय, मादुम्सिङको सिद्धेश्वरी आधारभूत विद्यालय, चयनपुर गुफाको गुफापोखरी प्राथमिक विद्यालय र मैवाखोला ढुंगेसाँघुको जनकल्याण माध्यमिक विद्यालयका लागि कम्प्युटर खरिद, पुस्तकालय स्थापना, स्टेसनरी, खानेपानी व्यवस्थापन अनि खेलमैदानका लागि भनेर २० लाख रुपैयाँ छुट्याइएको छ । आयोजनाभित्र परेका छवटा गोठ र चारवटा शौचालय लगायतका १९ वटा संरचनाका लागि १ करोड १२ लाख २९ हजार ६ सय रुपैयाँ क्षतिपूर्ति दिने भनिएको छ । आयोजनाभित्र परेका ११ वटा वन उपभोक्ता समूहलाई जैविक विविधता/वातावरणमा पर्ने नकारात्मक प्रभाव न्युनीकरण, वन्यजन्तु संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रम र कृषि, वन सम्बन्धी क्षमता विकासका तालिम आयोजनाले दिने जनाएको छ । बिरुवा रोपिएलान्–नरोपिएलान्, क्षतिपूर्ति रकम आउला–नआउला, तालिम होला–नहोला भन्ने प्रश्न छँदैछन् । तर त्यसो भइहाले पनि लालीगुराँस नगरपालिका सुख्खाग्रस्त क्षेत्र बन्नबाट रोकिने छैन । जैविक विविधतामा पर्ने क्षतिको परिपुरण रकमबाट हुँदैन ।
वनस्पतिविद्हरूका अनुसार टीएमजे गुराँस प्रजातिको वंशाणु स्रोत हो । अठ्ठाइस प्रजातिका गुराँस यस क्षेत्रमा विभिन्न रङमा फुल्छन् । यो क्षेत्रको ५८ हजार २ सय ३२ हेक्टरमध्ये ५६ हजार १ सय ७३ हेक्टर वनले ढाकेको छ । त्यसमध्ये १५.८० प्रतिशत गुराँस वन पर्छ । यसकारण टीएमजेलाई २०५५ सालमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी वातावरण मन्त्री भएका बेला गुराँस संरक्षित क्षेत्र घोषणा गरियो । तेह्रथुम, ताप्लेजुङ र संखुवासभा जिल्लाको संगम स्थलमा पर्ने यो क्षेत्र तमोर र अरुण उपत्यकाको जलधारभित्र पर्छ । यस क्षेत्रमा बन्दुके पोखरी, हाँसपोखरी, सभापोखरी, भुतेपोखरी, खोप्रिङ पोखरी, गुफापोखरी, लामपोखरी, पाँचपोखरी, रातपोखरी, पात्ले पोखरीजस्ता ठूलठूला पोखरी छन् । यहाँ रेड पाण्डा, मुसे टाउके खरायो, हिमाली कस्तुरीजस्ता लोपोन्मुख वन्यजन्तु पाइन्छन् । वन लसुन, धुलेझार, चिम्फिन, बिख्मा, पाँचऔंले, कुट्की, जटामासी, ठूलो पाखनवेद, सुनधुपी, भैरुङपाती, लौठसल्लो जस्ता गैरकाष्ठ वनपैदावार तथा जडिबुटी पनि प्रचुर मात्रामा छ । यो क्षेत्रले मकालु–बरुण राष्टिय निकुञ्ज हुंँदै तिब्बतलाई जोड्छ । त्यस्तै कञ्चनजंघा संरक्षित क्षेत्र हुंँदै भुटान जोडिन्छ । नेपाल सरकारले सय पर्यटकीय गन्तव्यको सूचीमा टीएमजेलाई पनि राखेको छ ।
कोशी कोरिडोरको सर्वेक्षणका क्रममा स्थानीय सरोकारवालालाई बेवास्ता गरियो । आयोजनाका लागि विद्युत प्राधिकरणको वातावरण तथा सामाजिक शाखामार्फत प्रारम्भिक वातावरणीय परीक्षण गर्ने सहमति स्थानीय नगरपालिका र चैते सामुदायिक वनसँग २०७३ जेठ २ मा लिइयो । आयोजनाले प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदन तयार गर्दा अरु कुनै पनि सामुदायिक वन उपभोक्ता, स्थानीयबासी, आदिवासी जनजाति, राजनीतिक दल वा सरोकारवालासँग समन्वय गरेन । आयोजनाबाट पुग्ने असर र क्षतिपूर्तिका बारेमा कुनै छलफल/कार्यक्रम पनि भएन । प्रसारण मार्गको सर्वेक्षणमा पनि कसैलाई बोलाइएन । एकलौटी ढंगले प्रसारण एलाइन्मेन्ट/मार्ग तोकियो । प्रसारण मार्ग विस्तार गर्दा नाङ्गा र भिराला पाखाहरूमा टावर गाड्न बढी खर्च लाग्थ्यो । प्रसारण मार्ग छोट्याउन गुरांँस काटेरै भए पनि होचो ठाउँबाट विस्तार गरिन लागेको छ । देउरालीदेखि संखुवासभा र तेह्रथुमको सिमानै–सिमाना प्रसारण मार्ग लगिएको भए सयवटा पनि रुख काट्नु पर्दैनथ्यो ।
प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा आयोजनाले प्रसारण मार्गको टावर वा सबस्टेसन निर्माण गर्दा जैविक विविधतायुक्त विशेष क्षेत्र बचाउने भनेको छ । वनस्पती फंँडानी गर्दा प्रविधि वा ह्याभी इक्विपमेन्ट प्रयोग गर्न नमिल्ने र टावरलाई अग्लो भूभागमा राखिने पनि उल्लेख छ । तर अहिले टावर निर्माण कार्यमा ठेकेदारहरूले डोजर चलाएका छन । लापरबाही काम गर्दा तोकिएभन्दा दोब्बर रुख फाँडिने देखिन्छ । खानेपानीका दर्जनौं मूल, आहार र पोखरी सुक्ने जोखिम छ । करिब ३५ वर्षअघि यसै क्षेत्रको चैते सामुदायिक वनबाटै वसन्तपुर–म्याङलुङ सडक खनियो । करिब २० वर्षअघि ताप्लेजुङ र संखुवासभा जाने सडक खनिए । जसका कारण लम्बुखोलाको मूल सुक्न थाल्यो । कोशी कोरिडोरका कारण गाउँ–बस्ती काकाकुल बन्ने निश्चित छ । टीएमजेको जैविक विविधता र पर्यावरण नष्ट हुनेछ । पानीका मूल सुकाएर क्षतिपूर्ति दिनेभन्दा पनि पानीका मूल जोगाएर विकास निर्माण गरिनुपर्छ ।
कोरिडोरले टीएमजे क्षेत्र अनि नगरवासीलाई पुर्‍याउने क्षतिका बारेमा आयोजनासँग सम्बन्धित ऊर्जा मन्त्रालय र वन मन्त्रालयको ध्यानाकर्षण गराइए पनि सुनुवाइ हुन सकेन । कोशी कोरिडोर पीडितहरूको एउटैमात्र माग भनेको प्रसारण मार्ग परिवर्तन गरियोस् भन्ने हो । वातावरण संरक्षण ऐन, २०७६ मा अनिवार्य रूपमा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था छ । जस अनुसार कुनै पनि योजनाको आवश्यकता अनुसार स्वरुप परिमार्जन गर्न, संरचना स्थानान्तरण वा फेरबदल गर्न सकिन्छ । आयोजनाले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गरी प्रतिवेदन सार्वजनिक गर्न जरुरी छ । त्यस्तै आयोजनाले स्थानीय सरकार, सामुदायिक वन समूहहरू, स्थानीय बासिन्दा, आदिवासी जनजाति जस्ता सरोकारवालासँग समन्वय गरेर प्रसारण मार्ग विस्तार गर्नुपर्छ ।
माबुहाङ तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख हुन् ।

विविधा

कर्णालीका महिला

- कृष्णप्रसाद पौडेल,सुजाता तामाङ

 

तम्मोमा अन्न पिन्ने पानीघट्ट हुनान्, यी घट्टमा गेडा झाड्न मिल्ल्याउने चडा (चरा) बनाया छन् ।’
जुम्ला तातोपानीका धन गौतमको यो प्रश्नले गाउँका पानीघट्ट नदेख्ने नेपालीलाई गिज्याए जस्तो लाग्दो हो । तर त्यस्तो हैन । घट्टमा हुने यो चराको मुख्य काम पिस्न राख्ने अन्नको दाना ठिक्क खसाल्ने हो, यो आफै चल्ने हुन्छ । यो चरो नभएको घट्टमा एक जनाले कुरेर बेलाबेला लौरो चलाउनुपर्छ । यो काम गर्नमात्र एकजना छुट्टै श्रमिक चाहिन्छ । यो पिन्ने काम र चराको काम गर्ने हिजोआज अधिकांश महिला छन् ।
खेतबारी, दाउरा–घाँस, गाईवस्तु, बालबच्चा र पाका मानिसको स्याहारमा कर्णालीजस्तै अविरल बगिरहेका छन्, त्यहाँका महिला । उनीहरू हेर्दा सामान्य लाग्ने हजारौं वर्ष पहिलादेखि चलाउँदै आएको कुटो (नुग्रे या कोरेसो) जस्तै कुप्री पर्दै आफ्नो र परिवारको पेटको आगो निभाउन रातदिन खटिन्छन् । यस्तो कुटोजस्तो देखिने औंलाहरू भएको काठबाट बनेको खेतीपातीको औजारलाई स्थानीय भाषामा नुग्रे (तीन औंला भएकोलाई) र कोरेसो (पाँच औंला भएकालाई) भनिन्छ । यिनले यही कुटो चलाएर सिंगो कनार्लीका मानिसको रोग र भोक मेटाउने जिम्मेवारी बोकेका छन्् । तर यो कुरा बुझ्न हामी कसैलाई फुर्सद छैन ।
कर्णालीका महिलाले खेतीपाती गर्न, खासगरी झार जिलाउन र पिरोल (सल्लाको पात) सोहोर्न चलाउने यस्तो कुटो बिरुवा स्याहार्ने सबैभन्दा आदिम, दिगो र सरल प्रविधि हो । यो बच्चा स्याहार्ने आमाले आफ्नो पेटको बच्चाको भविष्य जोगाउन गरेको मानवीय बुद्धिमत्ताको उत्कृष्ट आविष्कार हो । यसको कर्णालीका महिलासँग मात्र हैन, यहाँको माटो, पर्यावरण र प्रकृतिसँग घनिष्ट साइनो छ । यसले बढीमा १.५ इन्चमात्र माटो चलाएर धरतीको छाला कसरी मानव सृष्टि थाप्न पर्याप्त छ भन्ने बताउँछ ।
यो खेतबारीमै पाइने सबैभन्दा बलियो बुट्यान घंगारु जसलाई स्थानीय भाषामा (रुइत) भन्ने काठबाट बनाइन्छ । आफ्नो आंैंला हेरेर आफ्नै सजिलाका लागि आविष्कार गरिएको यस्तो दिगो, सस्तो र सरल प्रविधिसमेत अहिले पुरुष पौरखको विकास ढाँचामा कैदी भएको छ । फलामबाट बनाइएको यो कुटो अहिले सुर्खेत बजारमा ३ सय रुपैयाँमा किन्न पाइन्छ । आफ्नै खेतबारीको घंगारु स्याहार गरेर दिगो कुटो बनाउनुको साटो फलामको कुटो बनाएर नाफा कमाउने सपना देख्ने र देखाउने विकासेबारे कर्णालीका महिला के सोच्दा हुन्, अन्दाज गर्न धेरै कठिन छैन । यी र यस्तै जैविक खेतीका अचुक र दिगो प्रविधि चलाएर कर्णालीबासी जीवनलाई सरल बनाउँछन् ।
यसको नजिकैको अर्को उदाहरण भने अचम्म लाग्दो छ । उनीहरू घरैमा पकाउने तेलको जोहो गर्न काठको बाकस (स्थानीय भाषामा जसलाई दुनो भनिन्छ) मा तेल आउने ओखर, तोरी र अन्य उपजको धुलो हातले माडेर तेल निकाल्छन् । धेरैले सुन्दा नपत्याउने यो कुरा एउटा डोरीको त्यान्द्रोमा घाँस–दाउरा गरेर गाड (खोला) वारपार गर्ने तुइनभन्दा कम कष्टकर छैन ।
मुलुकका टाठाबाठा भने कर्णालीबासीको जिन्दगीलाई स्थानीय विशेषतामा आधारित भएर उन्नत बनाउने सोच राख्दैनन् । सुर्खेतको बाटो हुँदै सिंहदरबारको सपना बाँडेर कर्णालीबासीको गरिबी र अभावको विम्ब प्रस्तुत गरी उनीहरूकै स्वाभिमानको खिल्ली उडाउँछन् । सिंगो राज्य र शासकहरू दाताले दिएको भन्दै ‘उडुवा’ चामलसमेत जहाज र हेलीमा (चिलगाडी) उडाउँछन् । र त्यही चामल खान बाध्य बनाउँदै झाडापखाला र पोषण अभावको दुश्चक्र बढाउँछन् । यिनले दाताका दानको दुरुपयोग गर्दै कर्णाली समाजमा परनिर्भरता र असुरक्षाको त्रास फैलाउँदै मगन्तेको बिल्ला भिराएका छन् । स्थानीय खेतीपाती तहस–नहस बनाएर यहाँका मानिसलाई घरबार चलाउन अब मौसमी हैन, स्थायी परदेशी बनाउँदैछन् । अधिकांश घरका पुरुष काम र आम्दानीको खोजीमा मौसमी बसाइँ–सराइ गर्छन । पहिले–पहिले खेती लगाएर भारतमा काम गर्न जाने र खेती भित्र्याउन घर फर्किने दाजुभाइ हिजोआज कमाइ कम हुने तर दिनदिनै घरायसी खर्च बढेसँगै लामो समय उतै बिताउन थालेका छन् । यसले गर्दा पुरुषले सघाउने कामहरू पनि यिनै महिलाहरूले नै सम्हाल्नुपर्ने भएको छ ।
यहाँका मानिसहरू गाईवस्तुसँगै एउटै घरमा बस्छन् । यी घरहरू भुइँ तलामा गाईवस्तु राख्ने र माथिको तलामा मानिस बस्नेगरी बनाइएका छन् । भान्सा र मझेरीमात्र भएका यी घरहरूमा चिसो छल्न सबैजना अगेना वरिपरि सुत्छन्, कतिपयसँग ओढ्ने र ओछ्याउने कपडा पर्याप्त हुँदैन । अझ महिनावारी र सुत्केरी भएका दिदीबहिनीहरू यिनै गाईवस्तुको गोठमै सुत्छन् । किनकि यी महिलाले यस्तो बेलामा घर र भान्सा छुनु हुँदैन ! यो थाहा पाए देउता त अझ धेरै रिसाउँछन् ! सर्प र असुरक्षाको त्रास सहँदै (छाउपडी), पुरुष दासताको बोझ बोक्दै (देउकी) बालबच्चाको स्याहार गर्छन्, यहाँका महिला । भरखर यौवनको खुटकिला टेक्दै गरेका ग्रेटा र मलालाले संसारलाई जोगाउन विश्वभरिका नेतालाई औंला
ठड्याउँदै सचेतनाको शंखनाद गर्दा कर्णालीका नानीहरू भाइबहिना बोकेर घरबारी कुर्न/गर्न बाध्य छन् । यिनले काला अक्षर चिन्नसमेत राम्ररी पाउँदैनन् ।
कर्णालीका महिला बिहान सखारै उठ्छन् र राति अबेलासम्म घोटिइरहन्छन् । घामपानी केही भन्न पाउँदैनन्, सबै भ्याउँछन् । विकासेका ‘विचरा’ यी जिउँदा महिला तिनका भेला–मेला भर्न र जागिर जोगाइदिन समेत सधैं तम्सिन्छन् । यहाँका अधिकांश दलित बस्तीमा अझै पनि चर्पी छैनन् । चर्पी बनाउन खटिएका सरकारी तथा गैरसरकारी हाकिम र कारिन्दा जिल्ला सदरमुकाम वरपर धेरै भेटिन्छन् । ‘खान त नई मिल्न्या केई कि बनाउने हुन चर्पी ?’ भन्ने एउटा दलित महिलाको व्यंग्य सिधा छ । यस्तो सिधा कुरा ती हाकिमहरूले पनि सुनेका छन्, तर नसुनेझैं बुझपचाउँछन् । किनकि यस्ता कुरामा जति
बुझ्पचाउन सक्यो, त्यत्ति नै बढी शुभलाभ छ । पोहोर साल नै सबैका घरमा चर्पी बनाइसकेको घोषणा गरेको सरकार यस्तो चर्पी जान गाउँलेहरू के खान्छन् भन्नेमा चिन्तित छैन । उल्टै चर्पी बनाउने र दातालाई प्रगति बुझाउनेमा नै उसको सबैभन्दा ठूलो जित छ ।
यी महिला जसरी हुन्छ, चारपाउ गर्दै औषधिजन्य र पोषणजन्य अन्नपात उब्जाउँछन् । तैपनि चिनो, कागुनो मार्से, मार्सी (चालम), गुराँस, चोतोजस्ता पोषिला खानेकुराको भाग खोसिएको हेर्न बाध्य छन्, उनीहरू । अहिले नेताज्यूहरूको मार्सी ज्युनारसँगै यसको काठमाडौंको बजार ह्वात्तै बढेको जो छ !
कुटो चलाएर जीविका चलाउने कर्णालीका महिलालाई अहिले मानव, माटो र पृथ्वीको स्वास्थ्य संकट थोपरिएको छ । यो भूगोलले नखाएको विषको मूल्य चुकाउँदैछ । पानीका मुहान सुकेका छन् । खडेरी र वर्षा बढेको छ । यी सबैको प्रभावले खाद्य तथा पोषण अभाव, जलवायु संकट र नसर्ने दीर्घरोगको बिगबिगी बढेको छ । यसले समग्र मानव सभ्यता भूकम्पले जस्तै हल्लाएको छ । यो अब ढल्न ढल्पलाएको छ ।
यी सबैको लेखाजोखा समेत यी महिलाहरूले राखेका छन् । अहिले अलि जब्बर भएका छन् । धेरै नै जुर्मुराएका छन् । तीन–चार दशक पहिला हामीजस्ता परदेशी देखेर सात्तो जाने डरले आफ्नो झुप्रो छिर्ने महिला अहिले बाटामा उभिएर ठट्टिँदै कहाँ हिँड्नुभयो, ‘सर/म्याम’ भनेर गिज्याउन सक्ने भएका छन् । सबैतिर यस्तो आँट भने अझै बढेको छैन । विचरो कुटो बोकेर यहाँका मानिसको जिन्दगी चलाइदिने महिलाको विवेकपूर्ण ज्ञान, आँट र धैर्य बुझ्न ठूलै छाती चाहिन्छ । त्यसैले सके सपारौं, नसके नबिगारौं भन्ने कुरा मनन गर्ने हो कि ?
साथै यहाँ उठाइएका सन्दर्भलाई एक पक्षबाट मात्र अवश्य हेरिनु हुँदैन । कर्णालीमा उल्लिखित विभेदमात्र छैन, समाज र प्रकृतिमा सौन्दर्य र विविधताको विशाल भण्डार छ । यहाँबाट सिक्न सकिने थरीथरीका (दुबै महिला र पुरुष) जिउँदा र असल मानवीय अभ्यासहरू छन् । कर्णालीमा विभेदको पर्खाल नलगाएका महिलामात्र हैन, सँगसँगै जीवन धान्न रातोदिन खटिने जिउँदा पुरुषहरू पनि छन् । सबैका सिक्नलायक फरक विशेषताका संस्कृति र सामाजिक मान्यताहरू छन् ।

Page 10
स्वास्थ्य

जोखिममा ६० वर्षमाथिका

- अतुल मिश्र
रौतहटको गौरस्थित सीमामा राखिएको सहायता कक्षमा भारतबाट आएकाहरुको स्वास्थ्य परीक्षण गरिँदै । तस्बिर ः शिव पुरी/कान्तिपुर

चीनको वुहानबाट सुरु भएर तीन महिनामै विश्वका डेढ सयभन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरस रोग–२०१९ (कोभिड–१९) संक्रमणको उच्च जोखिममा सबैभन्दा बढी ६० वर्ष उमेर समूह भन्दा माथिका छन् ।
विशेषज्ञहरूले यो संक्रमणबाट जोगिन सबै उमेर समूहका व्यक्तिलाई विशेष सावधानी अपनाउन आवश्यक हुने बताइइहँदा ६० वर्षभन्दा माथिका र जुनसुकै उमेरका दीर्घरोगी, रोग प्रतिरोधक क्षमता कम भएकालाई थप सावधानी आवश्यक हुने जनाएका छन् । ‘हामीसँग भएका प्रमाणबाट ६० वर्षभन्दा माथिका व्यक्ति सबैभन्दा उच्च जोखिम रहेको बुझ्न सकिन्छ । युवा पुस्तासँगै बालबालिकाको समेत मृत्यु भएको छ,’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रस अधानोम गेब्रियससले जेनेभामा भएको भर्चुअल पत्रकार सम्मेलनमा भनेका थिए ।
डब्लूएचओ इमर्जेन्सी डिजिज एन्ड जुनोसिसका प्रमुख डा. मारिया बेन केरखोवले समेत हालसम्म विश्वका विभिन्न मुलुकबाट प्राप्त तथ्यांकको विश्लेषण गर्दै यो भाइरसले बढी मात्रामा बूढापाकाको मृत्यु गराउने देखिएको औंल्याउँछिन् ।
‘हामीसँग थुप्रै मुलकुबाट प्राप्त पर्याप्त तथ्यांकअनुसार, ६० देखि ८० वर्ष उमेर समूहका पाका मानिसमा मृत्युको जोखिम उच्च छ,’ डा.मारिया भन्छिन्, ‘यस्तै मधुमेह, मुटु र रक्तनलीका रोगी, दीर्घकालीन श्वासप्रश्वासका रोगी, दीर्घ र जटिल प्रकृतिका रोगीलगायत आधारभूत स्वास्थ्य अवस्था जटिल भएकाहरूमा समेत यो संक्रमणबाट हुने मृत्युको जोखिम उच्च छ ।’ चीनमा कोभिड–१९ को ५० हजारभन्दा बढी प्रयोगशाला प्रमाणित केसमा देखिएअनुसार यो संक्रमणले प्रभावित ८० वर्षमाथिकामा करिब १५ प्रतिशत मृत्यु देखिएको छ । यस्तै, ७० देखि ७९ वर्ष सम्ममा ८ प्रतिशत, ६० देखि ६९ वर्षसम्ममा ३.६ प्रतिशत, ५० देखि ५९ वर्षसम्म १.३ प्रतिशत, ४० देखि ४९ वर्षसम्म ०.४ प्रतिशत, १० देखि ३९ वर्षसम्म ०.२ प्रतिशत मृत्युको तथ्यांक देखिएको छ । विज्ञहरूका अनुसार, यो तथ्यांकमा अझ नयाँ तथ्यांक थपिँदा मृत्यु दरमा केही फेरबदल देखिए पनि यसले कुन उमेर समूह सबैभन्दा बढी प्रभावित भइरहेको छ भन्ने स्पष्ट इंगित गरेको छ ।
भारतमा गत शुक्रबारसम्म कोभिड–१९ ले भएका ४ वटा मृत्युमा समेत सबै ६० वर्षमाथिकै छन् । नेपालसँग मिल्दोजुल्दो सांस्कृतिक, सामाजिक, भौगोलिकलगायत परिवेश भएकाले भारतमा यो संक्रमणले देखिएको मृत्युदरको तथ्यांक नेपालका लागि बढी महत्त्वपूर्ण हुन्छ । भारत सरकार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिड–१९ संक्रमण भएर मर्नेहरू विदेशयात्रा गरेर फर्किएका ७६, ७२, ६८ र ६४ वर्षका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै ६० वर्षभन्दा माथि उमेरका व्यक्तिलार्ई घरभित्रै रहन अपिल गरेका छन् ।
इटालीमा यतिबेला देखिएको अत्यन्त उच्च मृत्यु दरका बारेको प्रश्नमा डब्लूएचओ, हेल्थ इमर्जेन्सीका कार्यकारी निर्देशक डा. माइकल रायनले यस्तो हुनुमा त्यहाँ जेष्ठ नागरिकको संख्या धेरै बढी हुनुलार्ई औंल्याएका छन् । अझ यो भाइरसले कुपोषण, कम आय, बढी जनघनत्व, स्वास्थ्य सुविधाको कमी, स्वच्छताको अभावलगायत जनस्वास्थ्य स्थिति राम्रो नभएका मुलुकमा झन् बढी खतरनाक रूपले देखिन सक्ने सम्भावनासमेत छ । यसैले होला डब्लूएचओ महानिर्देशक डा.टेड्रसले नेपाललगायत कम आय भएका, अविकसित राष्ट्रहरूमा यो भाइरसले मच्चाउन सक्ने विपद्बारे समेत इंगित गरेका छन् । ‘यो गम्भीर रोगको भाइरस जसरी–जसरी कम आय भएका मुलुकमा जान्छ, हामी त्यस्ता प्रभावको बारेमा गहिरो रूपमा चिन्तित हुन्छौं जो उच्च एचआईभी/एड्स प्रसारसँगै कुपोषित बच्चा भएको जनसंख्यामा हुन्छ,’ डा. टेड्रसले चिन्ता व्यक्त गरेका छन् ।
अहिले विश्वभरिमा कोभिड–१९ को सबैमध्ये बढी ८० प्रतिशतभन्दा माथिका केस पश्चिमी प्रशान्त र युरोप गरी दुई क्षेत्रबाट छन् । डब्लूएचओको सल्लाहअनुसार हाल प्रत्येक शंकास्पद केशसलार्ई आइसोलेट (अन्य व्यक्तिभन्दा अलग राख्ने) गरेर परीक्षणसँगै उपचार गर्नुपर्छ । यस्तै हरेक केसको सम्पर्कहरूलार्ई पहिचान गरेर निगरानीमा राख्नुपर्छ । यही प्रक्रियाबाट समुदायमा व्यापक रूपमा हुन सक्ने संक्रमणको प्रसारण रोक्ने आशा गर्न सकिन्छ । ‘धेरै मुलुकमा फाट्टफुट्ट वा झुन्ड (क्लस्टर) मा यस्तो केस देखिएको छ, यस्ता राष्ट्र अझै संक्रमणको कडी तोड्ने यो प्रक्रिया अपनाउने स्थितिमा छन्,’ डा. टेड्रस भन्छन् । कोभिड–१९ का लागि परम्परागत औषधिसम्बन्धी धेरै क्लिनिकल परीक्षण भइरहेको छ । डा.मारियाका अनुसार यस्ता करिब दुई सयवटा परीक्षण जारी छन् ।
हालसम्म ‘कोभिड–१९’ रोगसँग जुध्न डब्लूएचओले संक्रमणको कडी तोड्ने (ब्रेक द चेन अफ ट्रान्समिसन) रणनीति अपनाएको छ । यसअन्तर्गत छिटो केस पत्ता लगाएर बिरामीलार्ई आइसोलेसनमा राखेर उपचार गर्ने गरिएको छ ।
हावामा भाइरस कति समयसम्म रहन सक्छ भन्नेबारे विश्वभरमा विभिन्न अध्ययन भइरहेको डा.मारिया बताउँछिन् । यसैले मुख, नाकबाट निस्किने पानीका स–साना कणहरूको सम्पर्कमा आउनबाट बाँच्नुपर्छ । यसैगरी, न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार, कोभिड–१९ फैलाउने भाइरस पानीको सूक्ष्म कणमा टाँस्सिएर हावाको कणमा घण्टौं बाँच्न सक्छ भने कुनै सतहमा केही दिनसम्म बाँच्न सक्छ । अध्ययनअनुसार यो भाइरसबाट हावाका माध्यमले र प्रदूषित सतह छोएर संक्रमित हुन सकिन्छ । यस्तो भाइरस हावाको सतहमा समेत न्यून मात्रामा केही समयका लागि बसेको हुन सक्ने बताइएको छ ।
अध्ययनमा के पनि देखिएको छ भने पानीका स–साना कणका रूपमा हावामा फैलिएको यो भाइरस कसैले खोकेको, हाच्छिउँ गरेको तीन घण्टासम्म हावामा रहिरहन सक्छ । यस्तै, यो भाइरस तामामा ४ घण्टासम्म, कार्डबोर्डमा २४ घण्टासम्म एवं प्लास्टिक र स्टोनलेस स्टिलमा २ देखि ३ दिनसम्म जीवित रहन सक्छ ।
जर्नल अफ हस्पिटल इन्फेक्सनमा प्रकाशित अर्को एक अध्ययनअनुसार, कोभिड–१९ भाइरस ९ दिनसम्म पनि बाँच्न सक्छ । तर दुवै अध्ययनबाट के देखिएको छ भने, यो भाइरस ६२ देखि ७१ प्रतिशत इथाइनल, ०.५ प्रतिशत हाइड्रोजन पेरोक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइटको सहयोगले एक मिनेटमा निष्क्रिय हुन सक्छ । तर यो भाइरस बाँच्ने समयलार्ई सूर्यको प्रकाश, ताप, चिसो आदिले कति प्रभावित गर्छ भन्नेबारे अझै विस्तृत अध्ययन भइरहेको छ ।
यो भाइरस पानीको स–साना कणको माध्यमले सर्छ । यो पानीको स–साना कण संक्रमित, बिरामी व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा नाकमुखबाट निस्किन्छ । यस्ता कण विभिन्न सतहमा टाँस्सिएर पछि कसैले छुँदा वा सम्पर्कमा आउँदासमेत अन्य व्यक्तिमा संक्रमण हुन सक्छ । ‘जति खेर यो पानीको कण संक्रमित व्यक्तिको शरीरबाट बाहिर निस्किन्छ, एउटा खास दूरीसम्म फैलिन्छ । त्यसपछि त्यो तलतिर झर्छ,’ डा.मारिया भन्छिन्, ‘यसैले हामी कुनै व्यक्तिभन्दा एक वा दुई मिटर टाढा बस्न भनिरहेका छौं ।’
उनका अनुसार, बिरामी नभएका वा बिरामीको स्याहारमा नरहेका स्वस्थ व्यक्तिले मेडिकल मास्क नलगाए हुन्छ । तर स्वस्थ्य संरचनामा स्वास्थ्यकर्मीहरूले मुखबाट निस्किने पानीका स–साना कणबाट जोगाउन उपायोग गर्नुपर्छ ।
डब्लूएचओका महानिर्देशक डा. टेड्रले हाल विश्वभरमा नै हरेक मुलुकले हरेक शंकास्पद केसलाई परीक्षण गर्नुपर्ने औंल्याउँछन् । यदि परीक्षण परिणाम पोजेटिभ देखियो भने तुरुन्त आइसोलेट गरेर उपचार प्रक्रिया सुरु गर्नुपर्छ र त्यस्ता संक्रमित व्यक्तिमा लक्षण विकसित हुनभन्दा दुई दिनअघिदेखि नै निकट सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्नुपर्छ । यस्ता निकट सम्पर्कमा आएकाहरूको समेत प्रयोगशाला परीक्षण गर्नुपर्ने डा. टेड्रस औंल्याउँछन् ।
डब्लूएचओले सबै प्रमाणित केस (जसमा हल्का मामिलासमेत) लार्ई स्वास्थ्य संरचनामा अन्यभन्दा छुट्टै राखेर अन्य व्यक्तिलाई सर्न नदिने गरी पर्याप्त उपचार गर्नुपर्ने सल्लाह दिएको छ । बिरामी र स्याहार कर्ता दुवैले एउटै कोठामा हुँदा मेडिकल मास्क लगाउनुपर्छ । डब्लूएचओका अनुसार, बिरामीले छुट्टै कोठामा सुत्नुको साथै छुट्टै शौचालय उपयोग गर्नुपर्छ । बिरामीलाई स्याहार गर्ने व्यक्ति पूर्ण स्वस्थ र कुनै पनि प्रकारको स्वास्थ्य समस्या नभएको हुनुपर्छ ।
कोभिड–१९ ले संक्रमित व्यक्तिले बिरामी अनुभव गर्न छोडेपछि पनि अर्को व्यक्तिलाई संक्रमित गर्न सक्छ । यसैले संक्रमण अरूमा नसर्ने सावधानी रोगको लक्षण निको भएको दुई सातापछि सम्मसमेत गर्नुपर्ने डा. टेड्रस औंल्याउँछन् ।

सामाजिक दूरी उपयोगी
सामाजिक दूरी कायम राख्नु संक्रमणलाई नियन्त्रण र यसबाट बचाउने गैरऔषधीय विधि हो । यस्तो विधि शरीरमा भाइरस बोक्ने र स्वस्थ व्यक्तिबीच दूरी कायम गरेर रोगको प्रसार, फैलावट, मृत्युदरलाई रोक्ने अत्यन्त सरल उपाय हो ।
सामाजिक दूरीले भाइरस संक्रमणलाई कम गर्न र स्वास्थ्य प्रणालीलाई समेत यसको संक्रमणसँग जुध्न सघाउने डब्लूएचओका महानिर्देशक डा.टेड्रस बताउँछन् । डब्लूएचओकै डा.मारियाले समेत सामाजिक दूरी कायम राख्दा अन्य व्यक्ति भन्दा पृथक राखेर मुख्य रूपमा बिरामी व्यक्तिसँग हिमचिम हुन दिन नहुने बताउँछिन् ।
भीडभाडमा नजाने, अनावश्यक भेटघाट नगर्ने, सकेसम्म घरबाहिर निस्किँदा अर्का व्यक्तिसँग १ देखि २ मिटरको दूरी कायम राख्ने, घरमा समेत बिरामी व्यक्तिसँग दूरी कायम राख्दै सुरक्षाको उपाय अपनाउनुपर्छ ।
‘हामीले हरेक राष्ट्र र हरेक व्यक्तिलाई भनिरहेका छौं यो संक्रमणलाई रोक्न सबैथोक उपाय अपनाउनुस्,’ डा.टेड्रसका अनुसार अन्य उपायसँगै व्यक्तिगत स्वच्छताका प्रयासले समेत यो भाइरसको प्रसारलाई रोक्न सघाउँछ ।
यसअन्तर्गत, साबुनपानीले हात सफा गरेर आफू संक्रमित हुन सक्ने जोखिम कम गर्नुपर्छ । यो प्रयासले समुदायका अन्य व्यक्ति र विश्वमै संक्रमण फैलिने सम्भावनालार्ई कम गर्न सघाउँछ । डा. मारियाका अनुसार तपाईं आफूमा देखिन सक्ने संक्रमणको सम्भावना कम गरेर कमजोर, असुरक्षित, बूढापाका जनसंख्यामा यो संक्रमण पुग्ने सम्भावनामा कमी ल्याउन सक्नुहुन्छ ।
सबैले आधारभूत रूपमा हात स्वच्छताको उपाय अपनाउनुपर्छ । यसअन्तर्गत श्वासप्रश्वाससम्बन्धी स्वच्छता, हातमा नभएर कुहिनोमा हाच्छिउँ गर्नु वा खोक्नु राम्रो हो । यस्तै, टिस्युपेपरमा थुक, खकार फ्याँकेपछि त्यसलार्ई सुरक्षित रूपमा डस्टबिनमा मिल्काउनुको साथै हातलाई समेत सफा गर्नुपर्छ । घरभित्र, कार्यालय वा बारम्बार छुनुपर्ने सार्वजनिक सतह, वस्तुहरूलाई नियमित रूपले संक्रमणमुक्त गर्ने रसायन आदिले सफा गर्दै रहनुपर्छ । यस्तै अस्वस्थ भएबाहिर नगई घरमै अन्य व्यक्तिसँग घुलमिल नभई बस्नुपर्छ ।

भारतसहित दक्षिण–पूर्वी एसियामा फैलिँदै
दक्षिण–पूर्वी एसिया विश्वको कुल जनसंख्याको एक चौथाइ व्यक्ति बसोबास गर्ने ठाउँ हो । कोभिड–१९ को विस्तार भारतलगायत दक्षिण–पूर्वी एसियामा तीव्र गतिले हुन थालेपछि नेपालमा समेत यसको जोखिममा झन् बढी वृद्घि भएको हो ।
डब्लूएचओ दक्षिण–पूर्व एसिया निर्देशक डा. पुनम खेत्रपाल सिंहले यस क्षेत्रमा संक्रमणको स्थिति हाल तीव्र गतिले विकसित भइरहेकोले भाइरसलाई रोक्नका लागि तुरुन्त सबै प्रकारको तयारी आवश्यक रहेको औंल्याएकी छन् ।
दक्षिण–पूर्वी एसियाका ११ मध्ये भारत, नेपाल, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटान, इन्डोनेसिया, थाइल्याण्ड गरी ८ राष्ट्रमा प्रयोगशाला प्रमाणित केस देखिसकिएको र यसको संख्या बढ्ने क्रममा छ ।
छिमेकी मुलुक भारतमा प्रयोगशाला प्रमाणित संक्रमण २ सय नाघ्नुका साथै ४ जनाको मृत्यु समेत भइसकेको छ । शुक्रबारसम्म यस क्षेत्रमा कुल ९ सय १७ वटा केस देखिएको डब्लूएचओले जनाएको छ ।
भारत सरकार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार नेपालसँग सीमा जोडिएको पश्चिम बंगाल, उत्तरप्रदेशलगायत राजधानी दिल्ली, मुम्बई, हरियाणा, उत्तराखण्डलगायत २० राज्यमा यो संक्रमण देखिएको छ ।

मास्क लगाउने कि नलगाउने ?
विशेषज्ञहरूका अनुसार, हाल कोभिड–१९ को जोखिमअन्तर्गत सबैलाई मास्क लगाउनुपर्ने आवश्यकता छैन । मास्क त्यतिखेर नै लगाउनुपर्छ जब तपाईं कोभिड–१९ संक्रमणको लक्षण जस्तै ज्वरो, खोकी, सास फेर्न समस्या आदि अनुभव गर्नुहुन्छ । यति मात्र नभई कोभिड–१९ प्रभावित व्यक्ति वा बिरामीको हेरचाह गर्ने व्यक्ति भए पनि मास्क लगाउनु आवश्यक हुन्छ । अझ कोभिड–१९ को शंकास्पद वा वास्तविक बिरामीको हेरचाह गर्ने स्वास्थ्यकर्मीले मास्क अनिवार्य लगाउनुपर्ने हुन्छ ।
तर मास्क लगाउँदा समेत यसलार्ई कसरी, कति समय लगाउने आदिबारे जानकारी हुनुपर्छ । हाल एकपटक उपयोग गरेर फ्याँक्नु पर्ने (डिस्पोजेबल) मास्कसमेत थुप्रै दिनसम्म लगाउने व्यक्तिसमेत भेटिन्छन् । तर एकपटक प्रयोग गर्ने मास्क निश्चित समयपछि लगाउनु हुँदैन । मास्कलाई लगाउँदा यसको भित्री भागमा हातले छुनु हुँदैन ।
मास्क लगाउँदा समेत हामीले विचार पुर्‍याउनुपर्छ । मास्क भिजेपछि वा अधिकतम ६ घण्टा लगाएपछि अर्को परिवर्तन गर्नुपर्छ । मास्क नाक, मुख, चिउँडो छोपिने गरी मास्कको दुवैतिर कुनै खाली ठाउँ नहुने गरी लगाउनुपर्छ ।

स्वास्थ्य

‘हरेक वडामा हेल्थ डेस्क चाहिन्छ’

- कान्तिपुर संवाददाता

जनस्वास्थ्यमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) विश्वव्यापी अभिभावक हो । डब्लूएचओले कोभिड–१९ लाई विश्वव्यापी महामारी भनेको दुई साताभन्दा बढी भइसकेको छ । अझै हामीले संक्रमित पत्ता लगाउनतर्फ ध्यान दिएका छैनौं ।
छिमेकी मुलुक भारतमा चार जनाको मृत्यु र बाहिरी मुलुकबाट आएको संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने प्रक्रिया जारी छ । अझ अहिले त भारतमा यो संक्रमण तेस्रो अवस्थामा पुगिसकेकोमा त्यहाँ सबै अत्यन्त चिन्तित छन् । यसबाट हामी अछुतो रहने सम्भावना शून्यप्रायः छ ।
चीनबाट सुरु भएको निमोनिया गराउने यो संक्रमण १ सय ६८ मुलुकका २ लाख ४७ हजारभन्दा बढीमा पुष्टि भइसकेको छ भने करिब १० हजार जनाको मृत्यु भइसकेको छ । यसैले केस खोज्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । यसले मुलुकमा संक्रमणको वास्तविक स्थिति झल्काउँछ । जति बढी र विविध ठाउँबाट नमुना संकलन गरी परीक्षण गर्‍यो, त्यति नै संक्रमण समाजमा छ वा छैन भन्न सकिने अवस्था हुन्छ ।
पूर्वतयारीअन्तर्गत मुलुकलाई सटडाउन गरौं । यसले कोभिड–१९ बारे जागरुक बनाउँछ । हरेक प्रदेश राजधानीमा रोग पहिचान र निगरानी सुविधा हुनुपर्छ । परीक्षण गर्ने किटको व्यवस्था हुनुपर्छ । केन्द्र र प्रदेशमा परीक्षण गर्न तालिमसमेत दिनुपर्छ । अझै पनि समयको उपयोग गरौं । नत्र पछि पछुताउनुबाहेक केही गर्न सकिन्नँ । अति सामान्य र सबैले सहजै गर्न सक्ने सामाजिक दूरी (सोसल डिस्टेन्स) कायम राख्नु, साबुनपानीले हात धुनु, श्वासप्रश्वासको स्वच्छता अपनाउनु धेरै महत्त्वपूर्ण कुरा हो ।
यो संक्रमणको कडी तोडेर नै यो रोगलाई जित्न सकिन्छ । संक्रमणको दुष्कर्ममा फस्न नदिनु नै महामारीलाई रोक्नु हो । यसलाई डब्लूएचओले महामारी र स्वास्थ्य प्रकोप भनेकाले अहिले सरकारले समेत ‘सबै कुरा ठीक छ’ भन्नु भएन ।
केन्द्रबाट आधारभूत स्तरसम्म जाने नेपालको जनस्वास्थ्य प्रणाली बलियो छैन । यो संरचनाले महामारीलाई धान्छ ? यो नेटवर्क कमजोर भयो भने भविष्यमा यस्तो प्रकोप आउँदा गम्भीर समस्या हुन सक्छ । स्वास्थ्यकर्मीहरूको सुरक्षा, चिकित्सकीय स्याहारसमेत सरकारले प्रदान गर्नुपर्छ ।
हरेक राजनीतिक दल सम्मलित शक्तिशाली ‘टास्क फोर्स’ सरकारले निर्माण गर्नुपर्छ । यस्तो टास्क फोर्समा सरकारले सरकारी र निजी क्षेत्रको क्षमतावान् विज्ञहरू राख्नुपर्छ । यो टास्क फोर्सलाई समय–समयमा कम्तीका दिनहुँ जानकारी (भर्चुअल रूपमा भए पनि) दिनुपर्छ । टास्क फोर्सले दिने सन्देशमा एकरुपता हुनुपर्छ । अब स्थानीय सरकारले वडास्तरसम्मको जिम्मेवारी लिनुपर्छ । हरेक वडामा हेल्थ डेस्क हुनुपर्छ । यस्तो तयारी गर्दा प्रकोप नियन्त्रण गर्ने क्षमता आउँछ । हाल मुलुकमा जनस्वास्थ्यको क्षेत्रमा देखिएको कमीकमजोरीले गर्दा यस्तो प्रकोप फैलिन सक्ने डर छ ।
जुनसुकै आपत्विपत्, प्राकृतिक प्रकोप हुँदा सबैभन्दा बढी जटिल अवस्था र समस्या भोग्ने सिमान्तकृत समुदाय नै हो । उनीहरूलाई महामारीबाट बचाउनुपर्छ । आइसोलेसन, उपचार, आईसीयू व्यवस्थापन मुख्य कुरा हो । यो स्थितिमा सशस्त्र प्रहरी, प्रहरी, सेनालाई देशप्रेम देखाउनेसमेत राम्रो अवसर हो । अनुशासनमा बाँधिएको यो समूहले कोरोनाविरुद्घको लडाइँमा थप सहयोग गर्न सक्छन् ।
(कुराकानीमा आधारित)

स्वास्थ्य

स्मार्ट फोनले मानसिक स्वास्थ्य प्रभावित

- कान्तिपुर संवाददाता


स्मार्ट फोनको उपयोगले किशोरवयकाहरूको मानसिक स्वास्थ्यलाई प्रभावित गर्न सक्ने हालैको एक अनुसन्धानले देखाएको छ । क्यानेडियन मेडिकल एसोसिएसन जर्नलमा प्रकाशित यो अनुसन्धानमा स्मार्ट फोनको उपयोगलाई मात्र सामेल गरिएको छ । अनुसन्धानमा स्मार्ट फोनमा खेलिने गेम्सलाई सामेल गरिएको छैन । अध्ययनअनुसार, सोसल मिडियाले बच्चालाई क्षति पुर्‍याउन प्रेरित गर्छ । स्मार्ट फोनको बढी उपयोगले मानसिक स्वास्थ्यमा असर पार्छ । यति मात्र नभई सोसल मिडिया र स्मार्ट फोनको उपयोगले किशोरवयकाहरूको निद्रासमेत प्रभावित हुन्छ । अध्ययनमा पाइएअनुसार, आजका युवाको दैनिकी नै स्मार्ट फोनमा निर्भर हुन्छ । यसले गर्दा उनीहरूमा चिढिने, रिस, तनावलगायत समस्या बढी देखिएका छन् । यसबाट बचाउका लागि शिक्षक, अभिभावकले किशोरवयकाहरूको निद्रा, स्कुल, कलेजको काम, सामाजिक गतिविधि, अनलाइन क्रियाकलापको बीच सन्तुलन अपनाउन सहयोग गर्नुपर्छ ।

स्वास्थ्य

कम निद्राले महिलामा मुटु रोगको खतरा

- कान्तिपुर संवाददाता

हालै गरिएको एउटा अनुसन्धानका अनुसार महिलामा नराम्रो निद्राका कारणले मुटु रोग र मोटोपनाको खतरा बढ्न सक्छ । यो अनुसन्धान जर्नल अफ द अमेरिकन हर्ट एसोसिएसनमा प्रकाशित छ । २० देखि ७६ वर्षको उमेरका ४ सय ९५ महिलामा गरिएको यो अनुसन्धानमा महिलाको आहार र उनीहरूको निद्राको गुणस्तरबीचको सम्बन्धको जाँच गरिएको थियो । यो अनुसन्धानमा निद्राको गुणस्तर, सुत्न लाग्ने समय र निद्राको कमीको विश्लेषण गरिएको थियो । अनुसन्धानमा के पाइयो भने जुन व्यक्तिमा निद्राको गुणस्तर खराब थियो उनीहरूले बढी मात्रामा चिनीयुक्त खाद्यपदार्थको सेवन गरेका थिए, जसले गर्दा मोटोपना र मधुमेहमा वृद्घि भएको थियो । अध्ययनअनुसार महिला जीवनभर नराम्रो निद्रासँग जुध्ने गरेका छन् किनभने उनीहरूलाई धेरैजसो बच्चा र परिवारको हेरचाह गर्ने जिम्मेवारी हुन्छ । योबाहेकका महिनावारी सुक्ने समय निर्माण हुने हार्मोनले गर्दा पनि निद्राको गुणस्तर खराब हुन्छ । 

स्वास्थ्य

रिमोटमा फोहोर धेरै

- कान्तिपुर संवाददाता

हालै गरिएको एउटा सर्वेक्षणको दाबीअनुसार टेलिभिजनको रिमोट घरमा भएको सबैभन्दा बढी फोहोरी र ब्याक्टेरिया भरिएको वस्तु हो । घरमा धेरैजसो रोग एकअर्कामा यसैको माध्यमले फैलिन्छ । बेलायतको संस्था एससीएसले २ हजार घरमा गरेको अनुसन्धानबाट ती घरमा रिमोट नै यस्तो समान हो, जो सबैभन्दा बढी ब्याक्टेरिया र भाइरस संक्रमित हुने देखियो । घरको ट्वाइलेटको दाँजोमा टीभीको रिमोट २० गुणा बढी फोहोरी हुन्छ । अनुसन्धानअनुसार टीभीको रिमोटमा ब्याक्टेरिया, इस्ट र मोल्ड सबैभन्दा बढी पाइयो । अनुसन्धानमा ड्राइङ रुम र बेड रुमको कार्पेट र बाथरुममा समेत उच्च मात्रामा ब्याक्टेरिया पाइयो । योबाहेक ढोकाको ह्यान्डल पनि निकै संक्रमित देखियो । अध्ययनअनुसार रिमोटमा यति धेरै मात्रामा कीटाणु पाइनु धेरै गम्भीर मामिला हो । घरमा रहने सबैजना सबैभन्दा बढी रिमोटकै उपयोग गर्छन् । यति मात्र नभई घरमा रहेका बच्चा रिमोटलाई सबैभन्दा बढी आफ्नो मुखमा हाल्ने गरेका छन् । यही कारण बच्चा बढी बिरामीसमेत पर्छन् ।  

स्वास्थ्य

यसरी फैलियो कोभिड–१९

- कान्तिपुर संवाददाता

एउटा अनुसन्धानअनुसार ‘कोरोना भाइरस डिजिज–१९’ को प्रारम्भिक १ सय ३८ बिरामीमध्ये ४१ प्रतिशत चीनस्थित वुहानको एउटा अस्पतालमै संक्रमित भएका थिए । यो अनुसन्धान ‘जामा’ को मेडिकल जर्नलमा प्रकाशित भएको छ । चिकित्सकीय भाषामा यसलाई ‘नोसोकोमियल ट्रान्समिसिन’ भनिन्छ । यसको अर्थ के हो भने, त्यो रोगले अस्पतालमै प्रभावित पारेको हो । अध्ययनअनुसार सुरुवातको करिब आधा संक्रमण अस्पतालबाटै व्यक्तिमा फैलिएको थियो । 

Page 11
विदेश

मृतक संख्या १० हजार नाघ्यो

कोभिड–१९ महामारी १ सय ६८ देशमा पुगेको छ भने २ लाख ४७ हजारमा संक्रमण पुष्टि भएको छ  
- एजेन्सी
भारतको हैदराबादमा शुक्रबार कीटाणुनाशक पदार्थ छर्दै प्रकोप नियन्त्रण निकायका सदस्य । तस्बिर ः एजेन्सी

(वासिङ्टन) - कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तस्थित वुहानबाट सुरु भएको भाइरस संक्रमण विश्वको १ सय ६८ देशमा पुगेको छ भने कुल संक्रमित संख्या २ लाख ४७ हजार छ । युरोपका अधिकांश देशसहित अमेरिका र एसियाली राष्ट्रमा संक्रमण दर बढ्दो छ ।
संक्रमणको उद्गमस्थल चीनमा भन्दा युरोपेली राष्ट्र इटालीमा मृत्यु हुनेको संख्या धेरै भएको छ । इटालीमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ भने संक्रमित संख्या ४१ हजार नाघेको छ । चीनमा ३ हजार १ सय ३३ को मृत्यु भएको छ । इटालीपछि सबैभन्दा प्रभावित इरानमा शुक्रबारसम्म १ हजार ४ सय ३३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उसका अनुसार १९ हजार ६ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । चौथो अति प्रभावित स्पेनमा पनि मृतक संख्या १ हजार नाघेको छ । युरोपकै बेलायत, फ्रान्स, जर्मनी, स्विजरल्यान्डलगायतका देशमा पनि दिनप्रति दिन संक्रमित र मृतक संख्यामा वृद्धि भइरहेको छ ।

क्यालिफोर्नियामा ॅघरमै बस्न’ आदेश
अमेरिकाको क्यालिफोर्निया राज्यले सबैलाई घरमै बस्न निर्देशनात्मक आदेश जारी गरेको छ । अमेरिकाको ५० राज्यमध्ये सबैभन्दा धेरै जनसंख्या भएको क्यालिफोर्नियाले अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन आदेश दिएको हो । क्यालिफोर्नियामा ३ करोड ९० लाखभन्दा बढी मानिसको बसोबास छ ।
निर्देशनात्मक आदेश जारी गर्दै क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले सबैलाई महामारीको अवधिभर घरबाहिर ननिस्कन भनेका हुन् । यसअघि उनले आगामी दुई महिनाभित्र क्यालिफोर्नियाका आधाभन्दा बढी जनतामा कोभिड–१९ को संक्रमण हुन सक्ने भन्दै चेतावनी जारी गरेका थिए । ‘यो समय कडा निर्णय लिने बेला हो । हामीले वास्तविकता पहिचान गर्नैपर्छ,’ बिहीबार निर्देशनात्मक आदेश जारी गर्दै न्युसमले बताए । घरमै बस्न भनिए पनि नजिकैको पसलमा अत्यावश्यक सामान वा औषधि किन्न वा कुकुर डुलाउन वा व्यायाम गर्नमा भने रोक लगाइएको छैन । सार्वजनिक कार्यक्रममा भने रोक लगाइएको छ । बैंक, पसल, फार्मेसी र पेट्रोल स्टेसन पनि सञ्चालनमा रहने गभर्नर न्युसमले बताएका छन् । प्रत्येक चौथो दिन राज्यभित्रका केही क्षेत्रमा संक्रमित संख्या दोब्बर भइरहेको यर्थाथताका कारण कडा कदम चालिएको उनको भनाइ छ । कोभिड–१९ लाई लिएर कडा कदम चाल्ने क्यालिफोर्निया पहिलो राज्य बनेको छ । यसअघि नेभादाले अत्यावश्यकबाहेकका क्षेत्र ३० दिनका लागि बन्द गर्ने घोषणा गरेको थियो ।
अमेरिकामा हालसम्म १४ हजारभन्दा बढीमा भाइरस संक्रमण पुष्टि भइसकेको छ भने मृतक संख्या २ सय ५ पुगेको छ । क्यालिफोर्नियामा मात्र १ हजारको
हाराहारीमा संक्रमित पुष्टि भएका छन् भने १९ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाजस्तै न्युयोर्क र वासिङ्टन पनि अति प्रभावित छ भने सबै ५० राज्यमै संक्रमण पुष्टि भइसकेको छ । संक्रमण र मृत्युदर बढ्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बिहीबारबाटै सबै अमेरिकीलाई विदेश यात्रामा रोक लगाइसकेको छ । यसअघि उसले युरोपबाट अमेरिकामा हुने सबै उडान रोकेको थियो ।
राष्ट्रपति ट्रम्पले विदेशमा फसेका सबै अमेरिकी नागरिकलाई फिर्ता ल्याउन सेनासँग मिलेर काम भइरहेको बताएका छन् । संक्रमित दर बढ्दै गएपछि उनले शुक्रबारै छिमेकी मेक्सिकोसँगको सिमानाका पनि अस्थायी रूपमा बन्द गर्ने तयारी गरेको ह्वाइटहाउसले जनाएको छ । ह्वाइटहाउसले नै अमेरिकामा हुने यस वर्षको विश्वका ७ शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रको समूह ‘जी–सेभेन’ नेताको बैठक स्थगन गरेको छ ।
चीनमा विदेशी संक्रमित बढे
चीनमा आयातित संक्रमितको संख्यामा व्यापक वृद्धि भएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्यांकअनुसार त्यस्ता संक्रमित संख्या २ सय २८ पुगेको छ । देशका विभिन्न प्रान्तमा विदेशबाट आएकामा संक्रमण पाइएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
घरेलु संक्रमितको नयाँ संख्या भने लगातार दोस्रो दिन पनि शून्य रहेको उसले जनाएको छ । ‘चीनमा आयातित संक्रमणको संख्या बढेको छ र त्यसलाई नियन्त्रणका दबाब पनि बढेको छ,’ बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वाङ बिनले बताए । यसैबीच, आयातित संक्रमण बढ्न थालेपछि महामारीविरुद्ध संयुक्त रूपमा लड्नेबारे चीन, जापान र दक्षिण कोरियाका विदेशमन्त्रीबीच भिडियो कन्फरेन्स भएको छ । चीनले अबको प्रयास विदेशी संक्रमित रोक्न हुने बताएको छ । यसका लागि उसले
राजधानी बेइजिङलगायतका क्षेत्रमा कडाइ गर्ने
बताइसकेको छ ।

दक्षिण एसियाको अवस्था
-पाकिस्तानमा ३ जनाको मृत्यु, ४५४ संक्रमित
-भारतमा १९४ संक्रमित, ४ को मृत्यु, महाराष्ट्र आंशिक ‘लकडाउन’
-श्रीलंकामा देशव्यापी कर्फ्यू
-भुटानमा क्वारेन्टाइन बसाइको अन्तिम दिन संक्रमण पुष्टि
-तालिवान–अमेरिका शान्तिप्रक्रिया अन्योलमा
-माल्दिभ्स र बंगलादेशमा संक्रमित बढ्दै

विदेश

विद्यार्थीको आग्रह

- नवीन पोखरेल

(लन्डन) - कलैयाका विशाल सिंह बेलायत आइपुगेको झन्डै डेढ महिना भयो । ‘युनिभर्सिटी अफ हडर्सफिल्ड’ मा कम्प्युटर साइन्स पढ्न आउँदा उनले ७ हजार २ सय ३५ पाउन्ड बुझाएका थिए । ११ मार्चमा ५ हजार ५ सय पाउन्ड तिर्ने समयसीमा थियो । भर्खरै बेलायत आएका उनले कुनै काम पाएका थिएनन् । त्यसैले उनले पुनः परिवार गुहारे । घरबाट पैसा पठाइयो तर उनी समस्यामा परे । ‘घरबाट मेरो खातामा पैसा डिपोजिट हुनेबित्तिकै बैंकले शंकास्पद भन्दै अकाउन्ट नै ब्लक गरिदियो । विश्वविद्यालयको पत्र, पासपोर्ट कपी, पैसा मगाएको सबै प्रमाण दिँदा पनि बैंकले एक महिनादेखि दुःख दिइरहेको छ,’ उनले भने ।
काम नहुनु र घरबाट पठाएको पैसा पनि रोकिएकै बेला कोभिड–१९ का कारण उनी थप चिन्तित छन् । ‘नेपाल जाऊँ पैसा छैन । यहाँ एकदम असुरक्षित महसुस गरिरहेका छौं,’ उनले सुनाए । सेप्टेम्बरसम्म विश्वविद्यालय बन्द भएकाले आफूसहितका विद्यार्थीलाई तुरुन्त नेपाल फर्कने वातावरण बनाइदिन उनले सरकारसँग आग्रह गरेका छन् ।
युनिभर्सिटी अफ हडर्सफिल्डमै कम्प्युटर साइन्स पढ्न आएका नेपालगन्जका २० वर्षीय रिचर्ड पाण्डे पनि यस्तै पीडा व्यक्त गर्छन् । ‘पैसा कमाउनभन्दा पनि डिग्री लिन बेलायत आएको तर बिजोग भयो,’ उनले भने, ‘घरबाट ल्याएको सबै पैसा सकियो, यहाँ जागिर छैन । यी विद्यार्थीमात्र होइन, युनिभर्सिटी अफ हडर्सफिल्ड, बोल्टन र युनिभर्सिटी अफ सेन्ट्रल ल्यानकासायर (युक्ल्यान) पुगेका करिब २ सय नेपाली विद्यार्थीको अवस्था उस्तै छ । पीडित विद्यार्थीले लन्डनस्थित नेपाली दूतावास र विश्वविद्यालयका नेपाली सोसाइटीले आफ्ना गुनासो नसुनेको जिकिर गरेका छन् । दूतावासका उपनियोग प्रमुख शरदराज आरनले नेपाल सरकारले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई नेपालयात्रा निषेधित गरेकाले आउँदो अप्रिल १२ सम्म धैर्य गर्न विद्यार्थीलाई आग्रह गरेका छन् । उनले भने, ‘यतिखेर नेपाल जाने फ्लाइट पनि छैन । फेरि भाइरस संक्रमण मानवीय स्वास्थ्यसँग जोडिएकाले देश र समाजलाई नै असर हुने विषय सबैले बुझिदिनुपर्छ ।’ यसैबीच, बिचल्ली परेका विद्यार्थीलाई सहयोग गर्न यहाँका केही नेपालीले चासो व्यक्त गरेका छन् ।

विदेश

‘फिनल्याड खुसी राष्ट्र’

- एजेन्सी

जेनेभा – विश्वभर कोभिड–१९ को त्रास फैलिरहँदा संयुक्त राष्ट्र संघका विज्ञहरूले शुक्रबार फिनल्यान्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्र घोषणा गरेका छन् ।
‘वर्ल्ड ह्यापिनेस रिपोर्ट’ का लागि अनुसन्धानकर्ताहरूले १ सय ५६ मुलुकका जनतालाई सोधिएको प्रश्न र उनीहरूले दिएका प्रतिक्रियाको आधारमा गरिएको मूल्यांकनमा फिनल्यान्डलाई विश्वको सबैभन्दा खुसी मुलुक घोषणा गरिएको राष्ट्र संघले जनाएको छ । अनुसन्धानका लागि विज्ञहरूले हरेक मुलुकको कुल गार्हस्थ उत्पादन, सामाजिक सहयोग, व्यैक्तिक स्वतन्त्रता र भ्रष्टाचारको तहलाई आधार बनाएका थिए । राष्ट्र संघका अनुसार यी सबै सूचकका आधारमा फिनल्यान्ड अगाडि
देखिएकाले खुसी राष्ट्र घोषणा गरिएको हो । स्विट्जरल्यान्ड, न्युजिल्यान्ड अस्ट्रियालगायतका स्कान्डिनाभियाली मुलुक अग्र १० स्थानमा पर्न सफल भएका छन् । विश्वका १० खुसी मुलुकभित्र प्रतिव्यक्ति आय धेरै भए पनि लक्जेमवर्ग पर्न नसकेको विज्ञहरूले बताएका छन् ।
‘खुसी राष्ट्र छान्न सम्पत्तिको चेत, आपसी आनन्द र विश्वासको भावना, सहकारिता तथा साझा संस्थान तथा दायित्वका विषयलाई गहन अध्ययन गरिएको थियो,’ अनुसन्धान रिपोर्ट तयार गर्नेमध्येका एक विज्ञ जोन हेलिवेलले विज्ञका तर्फबाट जारी गरेको विज्ञप्तिमा भनेका छन् । खुसी राष्ट्र छुट्याइएको सूचीको अन्त्यमा हिंसात्मक द्वन्द्वको सामना गरिरहेका र अत्यन्त गरिबीको रेखामुनि रहेका जिम्बाबे, दक्षिण सुडान र अफगानिस्तानजस्ता मुलुक छन् ।
सूचीमा अस्ट्रेलिया ११औं स्थानमा छ भने कोस्टारिका १२औं, इजरायल १३ औं, लक्जेम्वर्ग १४औं र बेलायत १५औं नम्बरमा छन् । जर्मनी १७औं नम्बरमा अटाउँदा अमेरिका १९औं नम्बरमा परेको छ भने सिंगापुर ३४ औं स्थानमा रहेको छ । पाकिस्तान ६७ र रुस ६८ औं नम्बरमा छन् भने विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीन ९३ औं स्थानमा छ । नेपाल दक्षिण एसियाली मुलुकमध्ये पाकिस्तानपछि अग्रस्थानमा अर्थात् सयौं स्थानमा छ भने बंगलादेश १२५, श्रीलंका १३० र भारत १४०औं स्थानमा छन् । राष्ट्र संघले प्रत्येक वर्ष खुसी राष्ट्रको सूची सार्वजनिक गर्दै आएको छ ।

विदेश

निर्भयाका हत्यारालाई फाँसी

- एजेन्सी
अभियुक्तलाई फाँसी भएपछि खुसी व्यक्त गर्दै बलात्कारपछि हत्या गरिएकी महिलाकी आमा आशादेवी (बीचमा) ।

(नयाँदिल्ली) - भारतको राजधानी नयाँदिल्लीमा सन् २०१२ मा भएको सामूहिक बलात्कार तथा हत्याकाण्डका चारै जना दोषीलाई शुक्रबार बिहान झुन्ड्याएर मृत्युदण्ड दिइएको छ । उनीहरूलाई स्थानीय समयअनुसार बिहान ५ः३० बजे दिल्लीस्थित तिहाड जेलमा फाँसी दिइएको हो ।
निर्भया हत्याका रूपमा चर्चित उक्त घटनालाई लिएर विगत अढाइ महिनादेखिको अन्योल चार दोषीको मृत्युदण्डसँगै समाप्त भएको भारती सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतीय कानुनअनुसार पीडितको नाम सार्वजनिक गर्न नमिल्ने भएकाले ‘निर्भया’ नाम दिइएको थियो ।
शुक्रबार फाँसी भएकासहितका अभियुक्तले सन् २०१२ मा एक २३ वर्षीया महिलालाई नयाँदिल्लीको सार्वजनिक बसमै सामूहिक बलात्कार गरी सडक किनारामा फालिदिएका थिए । हत्याका अभियुक्त सबैलाई मृत्युदण्ड दिइनुपर्ने भन्दै नयाँदिल्लीसहित भारतकता विभिन्न स्थानमा धर्ना र प्रदर्शन भएका थिए । सरकारले घटनामा संलग्न रहेको भन्दै ६ जनालाई पक्राउ गरेको थियो । जसमध्ये रामसिंह नामका एक अभियुक्तले सन् २०१३ को मार्चमा जेलभित्र आत्महत्या गरेका थिए भने अर्का अभियुक्त घटना हुँदा मात्र १७ वर्ष उमेरका रहेको भन्दै ३ वर्ष जेल जीवन बिताएपछि सन् २०१५ मा रिहा भएका थिए । भारतमा किशोरावस्थाका व्यक्तिले अपधार गरे सुधारात्मक सुविधाअन्तर्गत जेलजीवन पार गरेर घर
जान पाउँछन् ।
अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई भारतको एक अदालतले मृत्युदण्डको फैसला गरेको थियो । अभियुक्ततर्फका वकिल एपी सिंहले अन्तिम सुनुवाइका लागि गरेको आग्रहलाई खारेज गर्दै सर्वोच्च अदालतको बिहीबार अबेर राति बसेको तीन सदस्यीय इजलासले थप सुनुवाइ नगर्ने फैसला गरेलगत्तै शुक्रबारै उनीहरूलाई फाँसी दिइएको हो । अपराधीलाई मृत्युदण्ड भएपछि पीडितका आमा आशादेवी र बुबा बद्रीनाथ सिंहले खुसी व्यक्त गरेका छन् । आफ्नी छोरीले ८ वर्षपछि बल्ल न्याय पाएको उनीहरूले बताएका छन् ।
दिल्लीको एक अदालतले यसअघि ती चारै दोषीलाई मार्च ५ मै तिहाड जेलमा फाँसी दिन आदेश दिएको थियो । अभियुक्त अक्षय ठाकुरले आफूलाई माफी दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सजाय रोकिएको थियो । सर्वोच्च अदालतले उनको निवेदनलाई अस्वीकार गरेपछि र तल्लो अदालतले पनि फाँसीलाई विलम्ब गर्न अस्वीकार गर्दै तोकिएकै मितिमा सजाय दिन आदेश दिएपछि उनीहरूका तर्फबाट बिहीबार साँझ दिल्ली उच्च अदालतमा निवेदन दिइएको थियो । उच्च अदालतले पनि निवेदनमाथि केही गर्न नसक्ने फैसला सुनाएको थियो ।
अन्ततः, अभियुक्तका वकिल सर्वोच्च अदालत पुगेर मुद्दामाथि तत्काल सुनुवाइ गर्न अनुरोध गरेका थिए । तर बिहीबार मध्यराति अर्थात् शुक्रबार बिहान २ः३० बजे बसेको सर्वोच्च अदालतको तीन सदस्यीय इजलासले निवेदन खारेज गरिदिएपछि फाँसीको सजाय दिन बाटो खुलेको थियो ।
सर्वोच्च अदालतमा करिब आधा घण्टा सुनुवाइ भएको थियो । न्यायाधीश आर बानुमथी, अशोक भूषण र जेएएस बोपानाले अभियुक्तका तर्फबाट दिइएको निवेदन अस्वीकार गरेका थिए । इजलासले अभियुक्तका वकिलले दिएको निवेदनमा विगतमा विभिन्न अदालतसमक्ष प्रस्तुत गरेका उही पुरानै कुरा दोहोरिएको र राष्ट्रपतिबाट माफी पाउनुपर्ने उचित कारण प्रस्तुत हुन नसकेको ठहर गरेको थियो ।
यी चारै जनाले २३ वर्षीया एक विद्यार्थीलाई डिसेम्बर १६, २०१२ मा दक्षिणी दिल्लीमा गुडिरहेको सार्वजनिक बसमा सामूहिक बलात्कार गरी निर्ममतापूर्वक कुटपिट गरेका थिए । सुरुमा दिल्लीस्थित सफदरजङ अस्पतालमा उपचार गरिए पनि अन्तिममा सिंगापुरस्थित एक अस्पतालमा उपचारकै क्रममा ती विद्यार्थीको निधन भएको थियो ।

Page 12
समाचार

छलफलमा लगिँदैनन् सार्वजनिक महत्त्वका प्रस्ताव

सरकारले बेवास्ता गरेकै कारण नौवटा जरूरी सार्वजनिक महत्वका प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल हुन सकेन
- ऋषिराम पौड्याल

(काठमाडौं) - प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशनमा जरुरी सार्वजनिक महत्त्व, संकल्प र ध्यानाकर्षणका ११ वटा प्रस्ताव दर्ता भएकामा दुईवटामा मात्र छलफल भएको छ । सरकारले बेवास्ता गरेकै कारण अरू नौवटा महत्त्वपूर्ण प्रस्तावमाथि छलफल हुन सकेको छैन ।
सभामुखको संयोजकत्वमा रहेको कार्यव्यवस्था परामर्श समितिअन्तर्गतको उपसमितिले स्वीकृत गरेका आठवटा प्रस्तावमाथि पनि छलफल हुने/नहुने यकिन भएको छैन । सरकार या सम्बन्धित मन्त्रीले जवाफ दिने प्रतिबद्धता व्यक्त नगरेकाले ती प्रस्तावमाथि छलफल हुन नसकेको हो । भारत सरकारले आफ्नो नक्सामा पारेको दार्चुलाको लिम्पियाधुरा र कटियाङ्दीलाई नेपालको भूभाग कायम गर्न र कालापानीमा रहेका विदेशी सेना हटाउन सत्तारूढ नेकपाकै सांसदले राखेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावलाई छलफलको सूचीबाटै हटाइएको छ ।
सत्तापक्षका सांसद विरोध खतिवडाले बिजुलीका काठका खम्बालाई हावाहुरीले क्षति पुर्‍याउँदा बर्सेनि धनजन गमाउनुपरेको भन्दै मुलुकभर ‘स्टिल पोल’ को व्यवस्था गर्न ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन् । अघिल्लो अधिवेशनमा राखेको प्रस्तावमा छलफल नभएपछि उनले फेरि दर्ता गराएका हुन् ।
अघिल्लो अधिवेशनमा तत्कालीन सांसद एवं वर्तमान सभामुख अग्निप्रसाद सापकोटाले अतिक्रमणमा परेका र व्यक्तिगत भोगचलनमा रहेका सरकारी, सार्वजनिक र गुठीको जमिन पत्ता लगाएर सरकारको स्वामित्वमा ल्याउन राखेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा समेत छलफल भएन । बालुवाटारको ललिता निवास प्रकरण सार्वजनिक भएपछि सापकोटाले मुलुकभरका अतिक्रमित जमिन फिर्ता गराउन, त्यसमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न र सरकारी सम्पत्ति संरक्षण गराउन भन्दै यो प्रस्ताव राखेका थिए ।
उनले उक्त प्रस्तावमा छलफल गराउन निकै कसरत गरेका थिए । तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल जवाफ दिन तयार नभएपछि सापकोटाको प्रस्तावमा छलफल हुन सकेन । त्यतिबेला मन्त्री अर्यालले प्रस्तावबारे जवाफको तयारी गर्न समय नपुगेको दाबी गरेकी थिइन् ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा १४, तेस्रोमा १७ र चौथोमा १५ र चालुमा ११ वटा प्रस्ताव दर्ता भएका छन् । तर यी ५७ वटामध्ये अधिकांश प्रस्तावमाथि छलफल भएन । ‘छलफल नगर्ने प्रवृत्तिका कारण एउटै विषयलाई दोहोर्‍याएर प्रस्ताव दर्ता गर्नुपर्ने अवस्था आएको हो,’ सांसद खतिवडाले भने । उनले चालु अधिवेशनमा ४८ जना सांसदको समर्थनमा गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । ‘प्रस्तावित विषयमा सरकारले आफ्नो धारणा र प्रतिबद्धता सार्वजनिक गर्न आलटाल गर्नु उचित होइन,’ उनले भने । गाँजा खेती खुला गराउन उनले दर्ता गरेको सार्वजनिक महत्त्वको प्रस्ताव छलफल नहुँदै सांसद शेरबहादुर तामाङले सोही विषयमा विधेयक दर्ता गराइसकेका छन् ।
सांसद खगराज अधिकारीले चालु अधिवेशनमा मात्र चार वटा प्रस्ताव दर्ता गरेका छन् । चालु र विगतका अधिवेशनमा दर्ता भएका डिला संग्रौला, नारायण खड्का, देवेन्द्रराज कँडेल, बृजेशकुमार गुप्ता, प्रकाश रसाइली, मेटमणि चौधरी, प्रभु साह, राजेन्द्र गौतम, दलबहादुर राना, उमा रेग्मी, मीनेन्द्र रिजाल, झपटबहादुर रावल, रंगमती शाही, हृदयेश त्रिपाठी, रामेश्वर राय, गगन थापा र दिलेन्द्रप्रसाद बडूले राखेका जरुरी सार्वजनिक महत्त्वका प्रस्ताव र संकल्प प्रस्तावका धेरै विषयमा छलफल हुन सकेन । सरकारले चासो नदिएका कारण ती प्रस्तावमा छलफल हुन नसकेको हो ।
सांसदहरूले स्वास्थ्य, शिक्षा, खानेपानी, हवाई तथा सडक दुर्घटना, सीमा समस्या, नागरिकता, महिला हिंसा, विकास निर्माण, सुशासन, सुकुम्बासी समस्या, नागरिकको मौलिक हक, प्राकृतिक स्रोतको संरक्षण तथा उपयोगलगायत विषयमा छलफल गर्न संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् ।
चालु अधिवेशनका तीन महिनामा सांसद विन्दा पाण्डेको प्रस्तावमा बोक्सा–बोक्सी, दाइजोलगायत कुरीतिविरुद्धको प्रस्ताव र सांसद गगन थापाले कोरोनाविरुद्ध राष्ट्रिय सहमति कायम गरौं भनेर राखेको सार्वजनिक महत्त्वको प्रस्तावमा मात्र छलफल भएको छ । सांसद प्रभु साहले प्रदेश २ लाई विशेष क्षेत्र घोषणा गर्नुपर्ने मागसहितको सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसका अमरेशकुमार सिंह, राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका उमाशंकर अरगरियासमेतको समर्थनमा साहले उक्त प्रस्ताव दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा नियमावली २०७५ को दफा ७१ मा सांसदले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राख्न सक्ने व्यवस्था छ । सभामुखलाई उक्त प्रस्ताव सार्वजनिक महत्त्वको हो भन्ने लागे उनले सदनमा छलफल गराउन सक्ने व्यवस्था छ । छलफलमा उठेको विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ ।

सरकारकै जिम्मेवारी बढी
प्रस्ताव संसद्मा दर्ता भएपछि यसमाथि छलफल गराउने/नगराउने जिम्मेवारी सरकारकै निर्णयमा निर्भर रहन्छ । कार्य व्यवस्था परामर्श समितिअन्तर्गतको प्रस्ताव छनोट उपसमितिका संयोजक देवप्रसाद गुरुङले सरकार सम्बन्धित विषयमा जवाफ दिन तयार नभएसम्म त्यस्ता प्रस्तावमाथि छलफल गराउन नमिल्ने बताए ।
‘सामान्यतया जरुरी सार्वजनिक महत्त्वको विषयमा छलफल नहुनुपर्ने कारण कमै हुन्छन् तर कुन विषयमा छलफल गरिने हो, त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई पठाउनुपर्छ,’ उनले भने, ‘मन्त्रीले जवाफ दिन्छु भनेपछि मात्र संसद्मा छलफलको कार्यसूचीमा राखिन्छ ।’
नेकपाका खगराज अधिकारीले राखेको कालापानीसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्तावको जवाफ दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तयार नभएपछि छलफलको कार्यसूचीबाट फागुन २९ मा दोस्रो पटक हटाइयो । यसअघि फागुन २३ को कार्यसूचीमा राखिएको थियो । गुरुङले भने, ‘मन्त्रीले पर्खौं, केही दिनपछि छलफल गरौंला भनेपछि कार्यसूचीमा राख्न सकिएन ।’ उनले सरकार तयार नभएका कारण प्रतिनिधिसभामा दर्ता भएका सार्वजनिक महत्त्वलगायत धेरै प्रस्तावमा छलफल गर्न नसकिएको जानकारी दिए ।
कांग्रेसका नेता मीनेन्द्र रिजालले सरकारले संसद्लाई विश्वास गर्न नसकेकैले महत्त्वपूर्ण प्रस्तावहरूमाथि छलफल हुन नसकेको बताए । उनको बुझाइमा सीमाका विषयमा सत्तारूढ नेकपाकै सांसदले राखेको सार्वजनिक महत्त्वको प्रस्ताव कार्यसूचीबाट हट्नु सरकारको अपरिपक्वताको बलियो उदाहरण हो ।
‘नेकपाका सांसदहरूले प्रस्ताव राख्दा हामीसँग सल्लाह गर्नुभएको थिएन,’ रिजालले भने, ‘सत्तापक्षकै परिपक्व नेताले राखेको प्रस्तावमा परराष्ट्रमन्त्रीले जवाफ दिन नचाहनु कूटनीतिक अपरिपक्वता हो ।’ प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार विषयको छनोट, समय र सरकारी तयारीका आधारमा कुनै प्रस्तावमाथि छलफल हुने या नहुने
निर्धारण हुन्छ ।

Page 13
अर्थ वाणिज्य

डिजिटल भुक्तानी निःशुल्क

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एटीएम कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा कुनै प्रकारको शुल्क नलाग्ने भएको छ । कोभिड–१९ को जोखिमबाट बच्न ग्राहकलाई विद्युतीय कारोबार गर्न प्रोत्साहन गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैंक तथा वित्तीय संस्थाले शुल्क मिनाहा गरेका हुन् ।
शाखाहरूमा भीड कम गर्न र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी संघले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एटीएम, मोबाइल र इन्टरनेटको माध्यमबाट कारोबार गर्न पनि उनीहरूले भनेका छन् । कागजी नोट (बैंक नोट) मा कोरोना संक्रमण हुने भएकाले त्यसको प्रयोग कम गर्न पनि बैंकहरूको आग्रह छ । ‘संक्रमण बढ्न सक्ने एक माध्यम बैंक नोट पनि हुन सक्ने देखिएकाले सम्भव भएसम्म नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्नु हुन सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
अब एउटा बैंकको एटीएम कार्डले अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम कार्डबाट पैसा निकाल्दा पनि शुल्क लाग्नेछैन । ‘ग्राहकले आफूलाई पायक स्थानकै एटीएमबाट पैसा निकाल्न सकुन् भन्ने उद्देश्यले कारोबार निःशुल्क बनाइएको हो,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने । यो सुविधा नेपालभित्रका एटीएममा मात्र हो ।
‘नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस सेवामा कुनै शुल्क लाग्नेछैन,’ विज्ञप्तिमा भनिएको छ । इन्टरनेट/मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिए वा अन्य कुनै प्राविधिक समस्या भए सम्बन्धित शाखामा फोनमार्फत सम्पर्क गर्न पनि बैंक तथा वित्तीय संस्थाले आग्रह गरेका छन् ।

अर्थ वाणिज्य

अन्यत्र सुनसान, खाद्यान्न पसलमा भीड

- नुमा थाम्सुहाङ
ललितपुरको पाटनस्थित रेडिमेड कपडा पसलमा ग्राहक नआएपछि बत्ती कातेर समय कटाइरहेकी महिला । तस्बिर ः सन्जोग मानन्धर/कान्तिपुर

(काठमाडौं) - साँझ परेपछि काठमाडौंका सुन्धारा, आरएनएसीलगायत स्थानमा मानिसको भीड बढ्थ्यो । फुटपाथका पसलेहरू फुटपाथमा सामान फिँजाउन हतार गर्थे । कामबाट छुटेर आफ्नो घरतर्फ जान गाडी चढ्ने र फुटपाथ पसलबाट सामान किन्नेको भीड छिचोल्न सकस हुन्थ्यो तर एक महिनायता न सामान किन्नेको भीड छ, न गाडी चढ्नेहरूकै ।
सिन्धुलीकी अनिता मगरले ९ वर्षदेखि सुन्धाराको फुटपाथमा पसल राख्दै आएकी छन् । कोभिड–१९ ले गर्दा मानिसको चहलपहल कम भएको उनले बताइन् । ‘एक महिनादेखि व्यापार सुस्ताएको छ,’ उनी भन्छिन्, ‘३/४ घण्टाको व्यापार हो । यो समयमा दैनिक ९ हजार रुपैयाँको व्यापार हुन्थ्यो, अहिले हजार रुपैयाँ हुन पनि समस्या छ ।’
सुन्धारामै १० वर्षदेखि एसके मोबाइल पसल सञ्चालन गर्दै आएका रोक थापाको भनाइ पनि उस्तै छ । ‘भाइरसको त्रासले मानिस बाहिर निस्किएका छैनन्,’ उनले भने, ‘मानिस बाहिर आए व्यापार गर्ने हो । पछिल्लो १५ दिनदेखि मानिसको भीड झन् कम हुँदै गएको छ ।’ अहिले व्यवसाय चलाउनै समस्या परेको उनले बताए ।
कपडा, मोबाइल पसलको मात्र नभई खाजा पसल, रेस्टुरेन्टमा समेत मानिस कम आउन थालेको व्यवसायीको भनाइ छ । भीडबाट टाढा रहनुपर्ने भएकाले सबै सचेत भएको आरएनएसीमा १३ वर्षदेखि खाजा पसल राख्दै आएका व्यापारी निमा लामाको भनाइ छ ।
कोभिड–१९ को डरले गर्दा फुटपाथका बजार नभई काठमाडौंको व्यापारिक केन्द्र इन्द्रचोक, असन र न्युरोडका पसलमा समेत मानिसको चहलपहल कम छ । आवश्यक पर्ने र नभई नहुने मानिस मात्र बाहिर किनमेलका लागि निस्कने गरेको व्यवसायी बताउँछन् । नयाँ बानेश्वरकी सबु बस्नेत इन्द्रचोकमा बिहेका लागि साडी किन्न आएकी थिइन् ।

‘बाहिर निस्कँदा जोखिम हुन्छ नै । तर काम परेपछि बाहिर निस्कनैपर्‍यो,’ उनले भनिन् । वैशाखमा लगन हुने भएकाले त्यसको किनमेल चैतमा गर्नुपर्ने भए पनि किन्ने ग्राहक नभएको इन्द्रचोकस्थित मित्र इम्पेरियर्सका चन्द्रमान श्रेष्ठको भनाइ छ । ‘ग्राहक छैनन्, कारोबार शून्यप्रायः छ,’ उनले भने । मानिसको बढी चहलपहल हुने ठाउँ असन नै अहिले सुनसान बन्दै गएको मोनिका कस्मेटिक स्टोरका सञ्चालक मानदीप दास राजभण्डारीले बताए । ‘होलीदेखि मानिसको चहलपहल कम हुँदै गएको छ,’ उनले भने, ‘अहिले दसैंमा जस्तै मानिस कम हुँदै गएका छन् ।’
अरू बेला ग्राहकले फुर्सद नपाउने इन्द्रचोकका पसलमा अहिले व्यापारीहरू सेवाग्राही कुर्दै बस्नुपरेको छ । ‘दिनभरमा एउटा ग्राहक आउँछन्,’ आकाश जिमा ब्रास ट्रेडर्सका सञ्चालक दीपक बानीयाँले भने, ‘व्यापार गर्न नसकेर पसलको बाहाल र कामदारलाई तलब दिन समस्या भइसक्यो । यसले व्यवसाय नै धरापमा पर्ने चिन्ता छ ।’
बजारमा मानिसको भीड कम भएसँगै कार, मोटरसाइकल, स्कुटरलगायत साधन पार्किङ गर्नेहरू पनि घटेका छन् । दुई सातादेखि पार्किङ खालीखाली भएको न्युरोड विशालबजारस्थित शुक्रपथमा रहेको स्मार्ट पार्किङका इन्चार्ज सुसन दाहालले बताए । पहिले एक दिनमा १ हजार बाइक, स्कुटी पार्किङ हुन्थ्यो । अहिले चारपाँच सयमा झरेको छ ।’
कोभिड–१९ को संक्रमण फैलिने त्रासले उपभोक्ताले आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण गर्न थालेका छन् । जसकारण खाद्यान्न पसलमा उपभोक्ताको भीड बढेको छ भने अन्य सामान बेच्ने पसल सुनसान छन् ।
अत्यावश्यक सामग्री आपूर्तिमा समस्या आउन सक्ने डरले उपभोक्ताले घरायसी रासन जोहो गर्न थालेको व्यवसायी बताउँछन् । एक महिनायता प्रशस्त मात्रामा चामल, दाल, चिनी र नुन किन्ने बढेको असनका व्यवसायी सञ्जय तुलाधारले बताए । ‘ग्राहक उनै हुन्, सामानको परिमाण मात्र बढाएका छन्,’ उनले भने, ‘५ केजीको ठाउँमा १० केजीसम्म खाद्यान्न किन्ने गरेका छन् । एक महिनामा २५ प्रतिशत व्यापार बढेको उनको भनाइ छ ।
आकस्मिक रूपमा नयाँ केही निर्णय भइहाल्ने हो कि भन्ने डरले करिब एक महिनालाई पुग्ने रासन मौज्दात राख्न लागेको काठमाडौं नयाँ बजारका डम्बर पौडेलले बताए ।

अर्थ वाणिज्य

एकीकृत टोलीबाट अनुगमन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सरकारले खाद्यवस्तुलगायतको आपूर्ति सहज बनाउन दुईवटा कार्यदल गठन गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा आपूर्ति व्यवस्थापन समन्वय समिति र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयका सम्बन्धित महाशाखाको सहभागिता रहेको आपत्कालीन आपूर्ति व्यवस्थापन कार्यदलले आपूर्ति व्यवस्थापन गर्नेछन् ।
‘कार्यदलले अवस्थाको आपूर्तिको तथ्यांक दैनिक रूपमा अद्यावधिक गरी हरेक दिन सार्वजनिक गर्नेछ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको खाद्यान्न मौज्दातलाई दोब्बर पार्ने जनाएका छन् । यसका लागि आवश्यकताअनुसार साविक नेसनल ट्रेडिङ लिमिटेडको टेकुस्थित गोदाम उपयोग गरिने विज्ञप्तिमा उल्लेख छ । दुर्गममा खाद्यान्न अभाव हुन नदिन र पहाडी जिल्लामा सम्भावित खाद्य संकट आउन नदिन समयमै आवश्यक खाद्यवस्तु ढुवानी गर्ने मन्त्रालयले जनाएको छ ।
बजार अनुगमनका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा एकीकृत टोली निर्माण गरी परिचालन गरिनेछ ।

अर्थ वाणिज्य

इन्टरनेट प्रयोग ३० प्रतिशत बढ्यो

- विजय तिमल्सिना

(काठमाडौं) - कोभिड–१९ को डरले घरमा बस्ने क्रम बढेसँगै तीन दिनयता इन्टरनेट ब्यान्डविथ प्रयोग ३० प्रतिशतसम्म बढेको छ । ब्यान्डविथ खपत बढ्दै गएपछि सेवाप्रदायकको क्षमताभन्दा बढी माग हुन थालेको इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।
‘केही दिनयता इन्टरनेट ब्यान्डविथको खपत २५–३० प्रतिशत बढेको छ,’ उनले भने, ‘जसका कारण सेवाप्रदायकलाई माग धान्न गाह्रो हुने स्थिति छ ।’ कोरोना त्रासका कारण विद्यालयसहितका शैक्षिक संस्था बन्द भएको, संक्रमणबाट बच्न मानिस घरमै बस्न थालेको र धेरै कार्यालयले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएपछि ब्यान्डविथ खपत बढेको सेवा प्रदायकको विश्लेषण छ । इन्टरनेटमा कोभिड–१९ प्रभाव परेपछि सेवा प्रदायकहरूको बैठकले शुक्रबार उपभोक्तालाई संयमित भएर इन्टरनेट प्रयोगको अनुरोध गर्ने निर्णय गरेको छ ।
‘ब्यान्डविथ खपत यसैगरी बढ्ने हो भने हाम्रो नेटवर्कले माग धान्दैन,’ उनले भने, ‘उपभोक्तालाई आवश्यकबाहेकका भिडियो, गेम डाउनलोड नगर्न आग्रह गर्दै सूचना जारी गर्ने तयारी छ ।’ शनिबार वा आइतबारसम्म यस्तो सूचना जारी गरिने भट्टले जानकारी दिए । ‘सबै सेवा प्रदायकको आआफ्नै नेटवर्क क्षमता छ । सोहीअनुसार उनीहरूले ग्राहक बनाएका हुन्छन्,’ उनले भने, ‘यस्तो अवस्थामा नेटवर्कको क्षमता बढाउन सकिन्न ।’ वर्ल्डलिंकका प्रमुख प्राविधिक अधिकृत समित जैन पनि तीन दिनयता ब्यान्डविथको माग ३० प्रतिशत बढेको बताउँछन् ।
‘हरेक दिन १० प्रतिशत ब्यान्डविथको माग बढिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा हामी नेटवर्क विस्तार गर्न सक्दैनौं । प्रयोगकर्ताले संयमित भएर प्रयोग गर्नुको विकल्प छैन ।’ राति ८ देखि १२ बजेसम्म इन्टरनेटको गति सुस्त हुन सक्ने उनको अनुमान छ । ‘प्रायः सेवा प्रदायकले भारतबाट ब्यान्डविथ ल्याइरहेका छन् । भारतमा पनि माग अपुग भएकाले थप गर्न गाह्रो छ,’ उनले भने । इन्टरनेट सेवा प्रदायकहरूले उपभोक्ताको घरमा इन्टरनेट बिग्रिए अनलाइनबाट गर्न सकिने जति समाधान गर्ने तर घरघरमा गएर मर्मत नगर्ने निर्णय गरेको भट्टले बताए । उपभोक्तालाई अनलाइनमार्फत इन्टरनेटको भुक्तानी गर्न पनि आग्रह गर्ने निर्णय भएको उनले जनाए ।

नेटफ्लिक्सले घटायो गुणस्तर
घरमै आइसोलेसनमा बस्नेहरूले धेरै भिडियो हेर्दा इन्टरनेट सेवा प्रदायकलाई ब्यान्डविथ वितरणका लागि अप्ठ्यारो परेको भन्दै अनलाइन भिडियो स्ट्रिमिङ सेवा दिने नेटफ्लिक्सले भिडियोको गुणस्तर घटाउने भएको छ ।
युरोपभर ३० दिनका लागि भिडियोको गुणस्तर घटाउने कम्पनीले निर्णय गरेको हो । यसले ब्यान्डविथ खपत २५ प्रतिशत कम हुने कम्पनीको अनुमान छ । नेटफ्लिक्सले युरोपका लागि ३० दिन गुणस्तर घटाउने निर्णय गरे पनि अन्य देशका प्रयोगकर्ताले पनि गुणस्तर घटेको अनुभव गर्न थालेका छन् ।
अनलाइनमा भिडियो प्रसारण गर्दा कति इन्टरनेट डाटा प्रयोग हुन्छ भन्नेमा धेरै पक्षले फरक पार्छ । नेटफ्लिक्सले भने अनलाइनमा प्रसारण हुने भिडियोको बिटरेट घटाएको जनाएको छ । बिटरेटले अनलाइनमा प्रसारण हुने भिडियोलाई प्रस्ट देखाउन भूमिका खेल्छ । बिटरेट छिटो हुँदा बढी इन्टरनेट डाटा प्रयोग भए पनि भिडियो प्रस्ट देखिन्छ ।

Page 14
अर्थ वाणिज्य

याक एन्ड यती पनि बन्द

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कोभिड–१९ का कारण दरबारमार्गस्थित पाँच तारे होटल होटल याक एन्ड यती शनिबारदेखि बन्द गरिँदै छ । शनिबार बिहानको ब्रेकफास्टपछि सबै सेवा बन्द हुने होटलको फ्रन्ट डेस्कले जानकारी दिएको छ । ‘कोभिड–१९ घटनाहरूको परिणामस्वरूप हामीले हाम्रो होटलको सञ्चालन अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेका छौं,’ २ सय ४७ कोठा भएको होटलकी महाप्रबन्धक मोनिका स्याब्लरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । होटलले सबै कर्मचारीलाई बिदा दिएको छ । कोभिड–१९ कै कारण बौद्धस्थित २ सय ८० कोठाको पाँचतारे होटल हायात रिजेन्सी पनि शनिबारबाटै बन्द गरिँदै छ । होटलहरूका छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान) ले भने प्रायः होटल बन्दको अवस्थामा रहेको जनाउँदै आइतबारपछि ठोस निर्णय आउने जनाएको छ । ‘अहिले बन्द होटलले कर्मचारीको सञ्चित बिदाबाट कटौती हुने गरी बिदा दिँदै होटल अस्थायी रूपमा बन्द गर्ने निर्णय लिइरहेका छन्, यो दीर्घकालीन भने होइन,’ हानका एक पदाधिकारीले भने, ‘आगामी दिनमा देखिने पस्थितिअनुसार समीक्षा गर्दै जानेछौं ।’

अर्थ वाणिज्य

मूल्य घट्ने बेला २२ पम्पले उठाएनन् तेल

- कान्तिपुर संवाददाता

(काठमाडौं) - आयल निगमले इन्धनको मूल्य समायोजन गर्ने बेला २२ पम्पले इन्धन ढुवानी नगरेको भेटिएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहँदा यहाँ पनि घट्ने अनुमान गर्दै ती पम्पले इन्धन ढुवानी गरेका थिएनन् । नोक्सानी हुने त्रासले ढुवानी नगर्दा आपूर्ति प्रणालीमै असर परेको थियो । पम्पले ढुवानी नगर्दा सर्वसाधारण घण्टौं लाइनमा बस्न बाध्य थिए ।
‘प्रतिलिटर ५ देखि १० रुपैयाँ घट्ने डरले व्यवसायीले अनुमान गरेर इन्धन उठाएनन्,’ निगमका एक अधिकारीले भने, ‘अत्यावश्यक वस्तुका रूपमा रहेको इन्धन ढुवानी नगर्नु गलत हो ।’ आपूर्ति व्यवस्थालाई प्रभावित गर्ने गरी इन्धन ढुवानी नगरेपछि ती पम्पलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निगमले पत्र काटेको छ ।
‘उपभोक्तालाई सहज, सरल र निर्बाध रूपमा उपझोग गर्ने वातावरण कायम गर्न निगमले साधारण बित्रेतामा नियुक्त गरिएको हो । वर्तमान परिस्थितिमा इन्धनको मागबमोजिम उपलब्ध गराउँदा पनि फागुनको दैनिक औसत खरिदअनुसार चैत ३ गते इन्धन खरिद गरेको देखिँदैन,’ निगमले बिहीबार पम्पहरूलाई पठाएको पत्रमा भनिएको छ, ‘पम्पले इन्धन नउठाउँदा बजार असन्तुलन भई उपभोक्ताले कष्ट बेहोर्नुपरेको छ । सो सम्बन्धमा पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र पेस गर्न अनुरोध छ ।’ पम्पहरूले उचित जवाफ नदिए तिनलाई निलम्बन गरिने निगमका एक अधिकारीले बताए ।
हाल भारतीय आयल निगमले प्रत्येक १ र १५ तारिखमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउँछ । आयल निगमले पनि स्वचालित मूल्यप्रणालीअनुसार इन्धनको मूल्य समायोजन गर्दै आएको छ । अहिले सीमा क्षेत्रमा कुनै अवरोध नभए पनि चैत २ गते (१५ तारिखमा) प्रायः पम्प बन्द भए । निगमले चैत ३ मा पेट्रोल/डिजेल र मटितेलको मूल्य समायोजन गरी प्रतिलिटर दुई रुपैयाँ घटाइसकेको छ । मूल्य घटे पनि उपभोक्ताको लाइन कायमै भएपछि निगम र आपूर्ति विभागको संयुक्त टोलीले अनुगमन गरेको थियो । इन्धन नउठाई पम्प बन्द गर्नेलाई स्पष्टीकरण सोधिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । निगमले ड्रम र बोतलमा इन्धन बिक्री गर्ने साझा र सेनाका पेट्रोल पम्पलाई पनि सचेततासहितको चिठी पठाएको उनले जानकारी दिए ।
यता पेट्रोलियम डिलर्स एसोसिएसन वाग्मतीका अध्यक्ष अच्युत खड्काले भने मौज्दात इन्धन बिक्री नभएकाले पम्पले तेल नउठाएको बताए । ‘दैनिक एक हजारदेखि १५ सय लिटर बिक्री गर्ने पम्प छन् । बिक्री नै हुँदैन, त्यसैले उठाएनन्,’ उनले भने । महिनामा करिब ३ हजार लिटर बिक्री गर्ने पम्पलाई कारबाही गर्न नपाइने उनको भनाइ छ ।
खड्काले मासिक ३ हजार लिटर दाबी गरे पनि निगमले भने ती पम्पले यसअघि हप्तामा दुई पटक चार/चार हजार लिटर बिक्री गरिरहेको दाबी गरे । पम्पहरू निगमकै डिलर भएकाले स्पष्टीकरण सोध्नु सामान्य भएको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान बताउँछन् ।
निगमले उपत्यकाका पम्पलाई स्पष्टीकरण सोधे पनि बाहिरका पम्पलाई भने उन्मुक्ति दिएको छ । निगम स्रोतका अनुसार उपत्यकाबाहिरका प्रायः पम्पले कम इन्धन उठाएका थिए । भैरहवामा पेट्रोलको औसत बिक्री साढे २ सय र डिजेल ८ सय किलोलिटर हो । तर व्यवसायीले पेट्रोल ४० र डिजेल २ सय २४ किलोलिटर मात्रै उठाएका थिए । विराटनगर, वीरगन्ज, चारआली, दाङ आदि क्षेत्रका पेट्रोल पम्पले पनि कम परिमाणमा इन्धन उठाएका थिए ।

अर्थ वाणिज्य

शुक्रबार पनि एक लाख बाहिरिए

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौंको एक निजी विद्यालयमा कार्यरत खोटाङ रावाबेंसी गाउँपालिका–३ का सुनिल रिजाल विद्यालय बन्द भएपछि घरतिर लागे । उनी सहज रूपमा घर पुग्न भने पाएनन् । सिट नपाएपछि मुडाको टिकट लिन बाध्य भए । ‘दसैंमा जस्तो भीड थियो त्यस्तै अहिले देखियो,’ उनले भने, ‘गाडीभरि मान्छे थिए, दुःख गरेर यात्रा गर्नुपर्‍यो ।’ उनीसहित ५ जनाको टोली आआफ्ना घरतिर लागेका छन् ।
यस्तो समस्या रिजालको मात्र होइन, अन्य यात्रुले पनि सजिलोसँग घर जान पाएका छैनन् । कोभिड–१९ को त्रासले विद्यालय, कलेज बन्द भएपछि धमाधम बालबच्चासहित उपत्यका छाड्नेहरू बढिरहेका छन् । टिकट काउन्टरमा यात्रुको भीड छ । बसमा यात्रु कोचाकोच गरेर गन्तव्यसम्म पुग्न बाध्य छन् ।
बुधबार र बिहीबारको तुलनामा शुक्रबार बढीले काठमाडौं छाडेको महानगरीय टाफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझसम्म ९८ हजार ५ सय १७ यात्रुले उपत्यका छाडेका छन् । यो दिन काठमाडौं भित्रिने भने ४८ हजार ९ सय ७ रहेको उनले बताए ।
चाडबाडमा भन्दा बढी यात्रुको भीड टिकट काउन्टरमा लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । नयाँ बसपार्क, कलंकी र कोटेश्वरमा यात्रुको भीड बढी छ । तर उनले शुक्रबार मात्र २ लाख बाहिरिएको अनुमान गरे ।

अर्थ वाणिज्य

उद्योगमा ३० प्रतिशत उत्पादन कटौती

- कान्तिपुर संवाददाता

विराटनगर (कास)– कोभिड–१९ संक्रमणको त्रासले बजारसम्म पुग्न नपाउने भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले उत्पादन कटौती गरेका छन् । कतिपय मजदुर काममा आउन छाडेका छन् । कच्चापदार्थको आयात पनि कम भएको छ । करिडोरका प्रायः उद्योगको उत्पादन कम्तीमा ३० प्रतिशत कटौती भएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए ।
हरेक उद्योगले मजदुरलाई गेटमा साबुनपानीले हात धुन लगाएर मात्र भित्र पस्ने व्यवस्था गरेका छन् । ‘तर मजदुर डराएर काम नै गर्न मान्दैनन्,’ प्लास्टिकका सामग्री उत्पादन गर्ने लोटस मोल्डिङ उद्योगका सञ्चालक नन्दकिशोर राठीले भने । यो उद्योगमा १ सयभन्दा बढी मजदुर छन् । चीनबाट आयात हुने औद्योगिक कच्चापदार्थ एक महिनादेखि ठप्प छ । विराटनगर भन्सारका अनुसार भारतलगायत अन्य मुलुकबाट आयात हुने कच्चापदार्थको आयात पनि दिनहुँ घट्दो छ ।
करिडोरमा करिब ६ सय सानाठूला उद्योग छन् । तीमध्ये खाद्यान्न उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालित छन् । अन्य सबै उद्योगले मजदुर काममा नआउँदा र कच्चापदार्थको समस्याले उत्पादन कटौती गरेका छन् । उत्पादित वस्तुको माग पनि नरहेको यसो गर्नुपरेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले जानकारी दिए । यसैबीच उद्योग संगठन र मोरङ व्यापार संघले संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड–१९ को त्रासले आर्थिक गतिविधिमा आइरहेको सुस्तता, उत्पादनमा आएको ह्रासले औद्योगिक क्षेत्रको लक्ष्यअनुरूप व्यापार तथा निर्यातमा आएको कमीले समस्या भएको बताएका छन् ।

अर्थ वाणिज्य

विद्युत् महसुल तोक्न सार्वजनिक सुनुवाइ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल परिमार्जनका लागि दिएको निवेदनमाथि विद्युत् नियमन आयोगले तीन दिन सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।
चैत १४, १६ र १७ गते काठमाडौंमा सार्वजनिक सुनुवाइ गरिनेछ । त्यसका लागि लिखित वा मौखिक रूपमा आफ्नो धारणा पठाउन मिल्ने आयोगले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण धेरै मानिस भेला नगर्न सरकारले दिएको निर्देशनअनुसार सार्वजनिक सुनुवाइमा फोनमार्फत पनि आफ्ना धारणा राख्न सकिने आयोगका अध्यक्ष दिल्ली सिंहले बताए । सार्वजनिक सुनुवाइमा आएका धारणा र छलफलका आधारमा प्राधिकरणले प्रस्ताव गरेको महसुल दर परिवर्तन हुन सक्ने उनको भनाइ छ ।

अर्थ वाणिज्य

क्लियरिङ हाउसको ई–पेमेन्ट निःशुल्क

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा रहेका भुक्तानी सेवामा लाग्ने कारोबार शुल्क चैत मसान्तसम्मका लागि निःशुल्क गरेको छ । बैंक तथा वित्तीय संस्थाका शाखामा सेवाग्राहीको भीड कम गर्न क्लियरिङ हाउसले उक्त योजना ल्याएको हो । 

अर्थ वाणिज्य

अत्तरखोलामा सिभिलको शाखा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सिभिल बैंकले काठमाडौंको अत्तरखेलमा नयाँ शाखा ल्याएको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे र बैंकका सञ्चालक समितिका सदस्य भीमानन्द ढुंगानाले उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

अर्थ वाणिज्य

एनसेलको नयाँ योजना

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनसेलले प्रिपेड ग्राहकका लागि १० रुपैयाँमा भ्वाइस र एसएमएसको ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ । प्याक लिने ग्राहकले ४ सय ८० मिनेट टक टाइम र ४ सय ८० वटा एसएमएस पाउँछन् । यो सेवा बिहीबारदेखि ९० दिनका लागि सञ्चालनमा रहनेछ । प्याकअन्तर्गत पाइने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजेसम्म २४ घण्टाको हुने कम्पनीले जनाएको छ । 

अर्थ वाणिज्य

मनकामनाको २ लाख सहयोग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मनकामना दर्शनले गोरखा बौद्ध समूहलाई २ लाख रुपैयाँ सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत मनकामनाले गोरखा नगरपालिका सतिपीपलमा निर्माणाधीन बुद्ध गुम्बाका लागि नगद सहयोग गरेको हो । 

अर्थ वाणिज्य

'अभाव सिर्जना नगर'

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपाल मुद्रण उद्योग महासंघले मुद्रण व्यवसायीलाई अनावश्यक रूपमा खरिद गरी वस्तुको अभाव सिर्जना नगर्न अनुरोध गरेको छ । कोभिड–१९ का कारण अनावश्यक भ्रम सिर्जना गरी नागरिकलाई आतंकित नगर्न महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Page 15
अर्थ वाणिज्य

कैदी–बन्दीको संख्या घटाइने

कारागारमा भीड कम गर्न कैदी–बन्दी घटाउने गृहकार्य महान्यायाधिवक्ताको कार्यालयले गर्दै
- कृष्ण ज्ञवाली

(काठमाडौं) - सरकारले कैदी–बन्दीको संख्या कटौती गर्ने तयारी गरेको छ । महान्यायाधिवक्ताको कार्यालयले कैद भुक्तान छुट दिएर कैदी–बन्दी घटाउन गृहकार्य गरिरहेको हो । मुलुकभरका अधिकतर बन्दीगृहमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । कोचाकोच बस्नुपर्दा उनीहरू सम्भावित कोभिड–१९ संक्रमणको जोखिममा छन् ।
महान्यायाधिवक्ता कार्यालयको निर्णयअनुसार प्रक्रिया मिलाइए मुद्दाको अनुसन्धानका सिलसिलामा गम्भीर प्रकृतिका आरोपबाहेकमा शंका लागेका व्यक्ति पक्राउ पर्ने वा थुनिनेछैनन् । मुद्दा अनुसन्धानका क्रममा थुनामा रहेका व्यक्तिलाई पनि धरौटी वा हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ । फैसला भई थुनामा रहेका कैदीलाई कैद रकम बुझाएर रिहा गर्ने, कैद पूरा हुन लागेकालाई छुट दिने र ज्येष्ठ नागरिकलाई रिहा गर्ने व्यवस्था मिलाउन लागिएको छ । बालबालिका पनि मुक्त हुनेछन् ।
महान्यायाधिवक्ता कार्यालयले अनुसन्धानमा थुनामा हुनुपर्ने व्यक्तिलाई धरौटी लिन वा हाजिर जमानीमा छाड्न निर्देशन दिने निर्णय गरेको छ तर हत्या, अपहरण, बलात्कार, मानव बेचबिखन, लागूऔषधलगायत गम्भीर प्रकृतिका मुद्दामा यो सुविधा लागू हुनेछैन । यो निर्णय अनुसन्धान गर्ने प्रहरी अधिकारी र मुद्दा चलाउने अभियोजनकर्ता सरकारी वकिलहरूले कार्यान्वयन गर्नेछन् । त्यस्ता व्यक्तिलाई धरौटी लिन वा हाजिर जमानीमा छाड्ने विकल्प अवलम्बन हुनेछ । निर्णयमा छ, ‘कसुरअनुसार शंका लागेका व्यक्तिलाई पक्राउ नगरी अनुसन्धान गर्ने ।’
गत फागुन मसान्तसम्मको विवरणअनुसार देशभर २३ हजार ४ सय ११ जना पुरुष र एक हजार ५ सय २८ महिला गरी २४ हजार ९ सय ३९ कैदीबन्दी छन् । तीमध्ये एक हजार २ सय ८१ जना विदेशी हुन् । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनअनुसार कारागारको क्षमता ११ हजार ७ सय जनाका लागि मात्र छ । महान्यायाधिवक्ता अग्नि खरेलले नकारात्मक सूचीमा रहेका बाहेक ५० प्रतिशत कैद भुक्तान गरिसकेकालाई तत्काल मुक्त गर्न सकिने बताए । ‘यसमा जेलरले चाहँदा निर्णय गर्न सक्छन्,’ उनले भने, ‘तत्काल निर्णय गरिदिने हो भने कैदीबन्दीको संख्या कटौतीमा सहयोग पुग्छ ।’ ज्यान मुद्दाका कैदीका हकमा भने त्यसो गर्न मिल्दैन ।
महान्यायाधिवक्ता कार्यालयले कैदबापत रकम लिई कैद छाडिदिनसक्ने व्यवस्था कार्यान्वयन गर्न सर्वोच्च अदालतलाई अनुरोध गर्ने निर्णय गरेको छ । मुलुकी फौजदारी कार्यविधि ऐनको दफा १५५ अनुसार पहिलो पटक कसुरदार ठहर गरी एक वर्ष वा त्योभन्दा कम कैद सजाय पाएका व्यक्तिले नगद बुझाएर कैदमुक्त हुन पाउँछन् ।
कसुरदारको उमेर, कसुरको गम्भीरता, कसुर गरेको तरिका, आचरणसमेतलाई विचार गर्दा कारागारमा राख्नु उपयुक्त नदेखिए कैदबापतको रकम तिरी कैद बस्नु नपर्ने गरी आदेश हुन सक्छ । सर्वोच्च अदालतले पनि शुक्रबार यसबारे निर्णय गर्दै रकम बुझाएर कैदबाट छुटकारा पाउन दिइने निवेदनमाथिको सुनुवाइ चालू रहने निर्णय गरेको छ । निर्णयमा भनिएको छ, ‘कैदबापत रकम लिई कैदबाट छोडिपाउन निवेदन परे रकम लिई कैदबाट छोडिदिन उपयुक्त देखिए न्यायाधीशको इजलासबाट आवश्यक आदेश गरी छाड्ने व्यवस्था गर्ने ।’
महान्यायाधिवक्ताको कार्यालयले कैद भुक्तान गरिरहेका व्यक्तिलाई पनि मापदण्ड पुगे माफी मिनाहा दिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । कैदीले निवेदन दिए गृहले कैद माफी गर्ने, मुल्तबी राख्ने, परिवर्तन गर्ने वा कम गर्ने सम्बन्धमा निर्णयको प्रस्ताव सरकारलाई पेस गर्न सक्छ । त्यसका लागि कसुरको प्रकृति र कसुर गर्दाको अवस्था, कसुरदारको उमेर तथा शारीरिक अवस्था, कसुरदारलाई तोकिएको सजायको हद, कसुरदारले सजाय पाउनुअघि कुनै कसुर गरी कैदको सजाय पाए/नपाएको अनि उसले भोगेको सजायलगायत अध्ययन गर्नुपर्नेछ । माफीसम्बन्धी निर्देशिका बनाउन कार्यालयले निर्देशन दिएको छ ।
महान्यायाधिवक्ता कार्यालयले कैद कट्टाको व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा ३७ अनुसार चालचलनमा सुधार गरेका र ५० प्रतिशत कैद सजाय भुक्तान गरेका कैदीको कैद कट्टा गरी मिनाहा हुन सक्छ । जन्मकैद भएकाका हकमा यो व्यवस्था लागू हुँदैन । बलात्कार, भ्रष्टाचार, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, लागूऔषध, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना, क्रूर अपराध र मानवताविरुद्धको अपराधमा सजाय भोगिरहेकाले यो छुट पाउनेछैनन् ।
महान्यायाधिवक्ता कार्यालयले कैद तथा थुनामा रहेका व्यक्तिलाई पनि कैद कटौतीको व्यवस्था गर्न निर्देशन दिएको छ । बालबालिकासम्बन्धी ऐनमा दिशान्तरको व्यवस्था छ । दिशान्तर भनेको कसुरको आरोप लागेका बालबालिकालाई न्यायिक प्रक्रियाभन्दा बाहिर लैजानु हो । दिशान्तरको व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिइएको छ । सर्वोच्च अदालतले पनि बालबालिकाको स्वास्थ्य जोखिम आकलन गरी अदालतले खोजेका बेला उपस्थित गराउने गरी अभिभावक वा संरक्षकको जिम्मा लगाउने निर्णय गरेको छ । बालबालिकासँग सम्बन्धित मुद्दाको सुनुवाइ पनि आगामी दुई साता रोकिनेछैन । महान्यायाधिवक्ता खरेलका अनुसार अदालत सञ्चालन हुने अवधिमा बालबालिकालाई अभिभावकको जिम्मा दिने आदेश हुन सक्छ ।
पछिल्लो अभिलेखअनुसार देशभरका बाल सुधार गृहमा ८ सय ७० बालबालिका छन् । कैदमा रहेका ज्येष्ठ नागरिकलाई पनि कैद मिनाहाको निर्देशन महान्यायाधिवक्ता कार्यालयले दिएको छ । कैद छुट नियमावली २०७६ लाई परिमार्जन गर्न पनि महान्यायाधिवक्ता कार्यालयले गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

अर्थ वाणिज्य

अदालत दुई साता बन्द

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सर्वोच्च अदालतले देशभरका न्यायालयमा आगामी आइतबारदेखि दुई साता नियमित प्रकृतिका सबै मुद्दाका सुनुवाइ स्थगित गर्ने निर्णय गरेको छ । सबै न्यायाधीशहरू सम्मिलित (फुल कोर्ट) को शुक्रबारको बैठकले महत्त्वपूर्ण र जरुरी प्रकृतिका केही सीमित निवेदन र सुनुवाइबाहेक सबै कामकारबाही स्थगित गर्ने निर्णय गरेको हो । स्थिति सामान्य भए दुई सातापछि चैत २३ गते आइतबार अदालत खुल्नेछ ।
फुलकोर्टको निर्णयअनुसार वैयक्तिक स्वतन्त्रतासँग सम्बन्धित विषय, अत्यावश्यकीय सेवाबाहेक सबै सुनुवाइ र न्यायसम्पादन प्रक्रिया स्थगित हुनेछ । वैयक्तिक स्वतन्त्रता भन्नाले कुनै व्यक्तिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भए त्यसविरुद्ध दिइने बन्दीप्रत्यक्षीकरणको निवेदन हो । त्यसबाहेक अत्यावश्यकीय सेवासँग सरोकार राख्ने निवेदन दर्ता र त्यसको सुनुवाइ जारी रहनेछ । नियमित प्रशासनिक काम भने यथावत् राख्ने निर्णय गरेको छ ।
फुलकोर्टले अभियोगपत्र दर्ता, बयान र थुनछेक, पक्राउ पुर्जीको अनुमति, जरुरी पक्राउ पुर्जीको समर्थनका कामकारबाही यथावत् राख्ने निर्णय गरेको छ । महामारीसँग सम्बन्धित गम्भीर प्रकृतिका निवेदनहरू पनि सुनुवाइ हुनेछन् । सर्वोच्चको निर्णय देशैभरका अदालतमा लागू हुनेछ । राजस्व, वैदेशिक रोजगार, ऋण असुलीजस्ता न्यायाधिकरण अनि प्रशासनिक अदालतहरूका नियमित कामकारबाही पनि रोकिनेछ ।
सर्वोच्चले नियमित सुनुवाइ र त्यससम्बन्धी काम गर्ने जनशक्तिलाई अन्य आवश्यक काममा व्यवस्था गर्ने/गराउने निर्णय गरेको छ । यो अवधिका मुद्दाको पेसी, तारिखलगायत काम पछि सुरु गर्ने व्यवस्था मिलाइएको छ । जसअनुसार नियमित काम सुरु भएको १० दिनभित्र सम्बन्धित पक्ष उपस्थित भई पेसी, तारिख लिनेलगायत काम हुनेछन् । निर्णयमा भनिएको छ, ‘यो अवधिका लागि मुद्दाको हदम्याद र तारिख नगुज्रेसरह मानी बाटोको म्यादबाहेक १० दिनभित्र पक्ष उपस्थित हुन आएमा मुद्दा दर्तालगायत कामकारबाही व्यवस्थापन गर्ने ।’
सर्वोच्चले दुई साताको बिदाले थपिन जाने कामको बोझलाई सम्बोधन गर्न स्थिति सामान्य भएपछि बिदाको दिन र अतिरिक्त समयमा समेत अदालत सञ्चालन गर्ने निर्णय गरेको छ । ‘नियमित रूपमा हुने प्रशासनिक काम सदाझैं निरन्तर सञ्चालनको व्यवस्था गर्ने,’ निर्णयमा छ । यो अवधिमा फुर्सद हुने न्यायाधीश तथा इजलास अधिकृतहरू फैसला लेखनमा सक्रिय हुनेछन् । सर्वोच्चलगायत देशभरका अदालतमा लामो समयदेखि फैसलाको पूर्णपाठ तयार नहुने समस्याले सेवाग्राही प्रभावित भइरहेका छन् । शुक्रबारको बैठकले मुद्दाको टिपोट, फैसला लेखनका साथै त्यससँग सम्बन्धित अन्य आन्तरिक काम नरोक्ने निर्णय गरेको छ । सर्वोच्चले कर्मचारीको भीडभाड हुन नदिन एउटा फाँटमा एकजना मात्रै रहने गरी आलोपालोको व्यवस्था मिलाउन भनेको छ । अनि टेलिवर्क (दूरीमा रहेर पनि काम गर्ने सुविधा), घरबाट काम गर्नेलगायतका व्यवस्था मिलाउने निर्णय गरेको छ । भीडभाड हुन नदिन मुद्दाको सुनुवाइको बहसका लागि न्यूनतम रूपमा कानुन व्यवसायी उपस्थित गराउन नेपाल बार एसोसिएसनलाई पत्र लेख्ने निर्णय गरेको छ । गोष्ठी, सेमिनार अन्तर्क्रिया, समीक्षालगायत जमघट हुने सबै कार्यक्रम चैतभर स्थगित गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतले सेवाग्राहीलाई स्वास्थ्य परीक्षणपछि मात्रै अदालतमा प्रवेश गर्न अनुरोध गरेको छ । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएको भए अदालत नआई अस्पताल जान सुझाव दिएको छ । न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीलाई पनि त्यस्ता लक्षण देखिए अस्पताल प्रवेश नगराई स्वास्थ्य परीक्षणका लागि पठाउने व्यवस्था गर्ने निर्णय गरेको छ । निर्णयमा भनिएको छ, ‘अदालतमा उपस्थित हुनेहरूले अनिवार्य रूपमा मास्क र सेनिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउने ।’
सर्वोच्चले अदालत प्रवेश गर्दा शरीरको तापक्रम नाप्ने विधिलाई निरन्तरता दिने, अदालतमा रहँदा आवश्यक दूरी कायम गर्ने, भीडभाड नगर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । अदालतसँग प्रत्यक्ष सरोकार राख्नेले आफन्त वा परिवारका सदस्य कोरोना प्रभावित मुलुकबाट नेपाल आएमा अदालत प्रशासनले खबर गर्नुपर्नेछ । सर्वोच्च अदालतले सेवाग्राहीको काम छिटो सक्न कर्मचारीलाई निर्देशन दिँदै सकेसम्म छिटो अदालतबाट बाहिरिन सरोकारवालालाई अनुरोध गरेको छ ।


गत मंगलबार मात्रै कानुन व्यवसायीहरूको
छाता संगठन नेपाल बार एसोसिएसनले नियमित प्रकृतिका मुद्दाहरूको सुनुवाइ स्थगित गरेर भीडभाड घटाउन सर्वोच्च अदालतलाई आग्रह गरेको थियो । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले छुट्टाछुट्टै बैठकबाट बन्दी प्रत्यक्षीकरणको बाहेकका मुद्दामा सुनुवाइ नगर्न आग्रह गरे पनि सर्वोच्च अदालतले त्यसबाहेक अत्यावश्यक सेवा, आरोपपत्र दर्ता अनि थुनछेकका मुद्दाको सुनुवाइ गर्ने भएको हो ।
सर्वोच्चलगायत देशैभरका अदालतहरू बढी सेवाग्राहीका आउजाउ हुने निकायमा पर्छन् । सेवाग्राही, कानुन व्यवसायी र कर्मचारीहरूको बाक्लो जमघट हुने भएकाले संक्रमणको जोखिम हुन सक्ने भनी कानुन व्यवसायीले सुरक्षाका उपायका लागि अदालत प्रशासनको ध्यानाकर्षण गराएका थिए । संक्रमणको जोखिम हुन सक्ने भन्दै सर्वोच्च प्रशासनले दुई सातादेखि इजलासमा कानुन व्यवसायीहरूले बहस गर्ने ठाउँको दूरी बढाएको थियो ।

अर्थ वाणिज्य

अन्तर्राष्ट्रिय उडान चैत ९ देखि बन्द

- कान्तिपुर संवाददाता

(काठमाडौं) - सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित संक्रमण रोकथामका लागि चैत ९ गते आइतबार (राति ११ः५९) देखि १० दिनसम्मका लागि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ‘नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरू आगामी चैत ९ देखि १८ गतेसम्मका लागि स्थगित गरिएको’ बताएका हुन् ।
प्रधानमन्त्रीले सम्बोधनका क्रममा मुलुकबाहिर ठूलो संख्यामा रहेका नेपालीलाई असुविधा भएकाले आवश्यक परेमा सम्बन्धित देशको कूटनीतिक नियोगमा सम्पर्क राख्न भनेका छन् । ‘नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान’ भन्ने वाक्यअनुसार कार्गो, मेडिकल, चार्टर उडान पर्ने हुन् वा होइनन् भन्ने प्रस्ट नहुँदा थुप्रै एयरलाइन्स तथा सरोकारवाला अन्योल परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यसबारे शनिबार थप प्रस्ट पारिने कान्तिपुरसँग बताए ।
प्रधानमन्त्रीको सम्बोधनलगत्तै सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति’ को बैठकले मुख्य सचिव लोकदर्शन रेग्मीलाई शनिबार कार्ययोजनासहित प्रस्ताव पेस गर्न निर्देशन दिएको मन्त्री भट्टराईले बताए । उनका अनुसार मुख्य सचिव रेग्मीले अन्तर्राष्ट्रिय उडानअन्तर्गत कार्गो, मेडिकल, कूटनीतिक चार्टर, उद्धार उडान आदिलाई कसरी सञ्चालन गर्ने वा नगर्नेबारे कार्ययोजनासहित थप व्याख्या गरेर समितिमा पेस गर्नेछन् ।
आइतबारदेखि विदेशी एयरलाइन्सले नेपालमा व्यावसायिक उडानबाट यात्रु ल्याउन नपाउने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘कुनै पनि देशका एयरलाइन्सले नेपालको विमानस्थलमा यात्रु ल्याएर अवतरण गर्न पाउने छैनन्,’ पोखरेलले भने, ‘कुनै पनि विदेशी एयरलाइन्सले नेपालमा रहेका विदेशीलाई फिर्ता लैजान रित्तो जहाज अवतरण गर्न भने छुट हुनेछ ।’ उनले प्रधानमन्त्रीको सम्बोधनले कमर्सियल उडानबाट हुने यात्रु आवागमनलाई सम्बोधन गरेको बताए ।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रधानमन्त्रीको सम्बोधनअनुसार आइतबार दिनभरि उडान हुने र राति ११ बजेर ५९ मिनेटपछि आगमन रोकिने बताए । काठमाडौंबाट हुने आन्तरिक उडान भने रोकिने छैनन् । काठमाडौंबाट देशभर नौवटा एयरलाइन्सले दुई दर्जन विमानस्थलमा उडान गर्छन् । सामान्य अवस्थामा एक सय हाराहारी अन्तर्राष्ट्रियसहित साढे ४ सय उडान काठमाडौं विमानस्थलबाट हुने गर्थे ।
यसैबीच सरकारले विदेशी यात्रुको आवागमन रोकेपछि निजी क्षेत्रको हिमालय एयरलाइन्सले शनिबारदेखि कुनै पनि गन्तव्यमा उडान गर्न नपाउने भएको छ । उक्त एयरलाइन्सका एक अधिकारीका अनुसार हिमालयले शुक्रबार राति आवुधाबीबाट एउटा मात्रै उडान गरेपछि उसले आफ्ना सबै चारवटा जहाज काठमाडौंमा ग्राउन्डेड गरेको छ । हिमालयले चैत १८ सम्म कतै पनि उडान नगर्ने जनाउँदै कर्मचारीलाई बिदा दिएको छ ।
भारतले आइतबार बिहानदेखि सबै अन्तर्राष्ट्रिय उडान रोकेपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम बैंकक र हङकङमा मात्रै उडान गर्न बाध्य भएको छ । यात्रु अभावका कारण निगमले यी क्षेत्रमा नियमित उडान कटौती गरेकाले आउँदो आइतबारदेखि सबै उडान स्थगन हुन लागेको जानकारी दिएको छ ।

अर्थ वाणिज्य

संसद् बैठक अनिश्चित

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलने खतराका कारण संघीय संसद्को बैठक अन्त्य गर्ने तयारी गरेको छ । शुक्रबारका लागि तय गरिएको राष्ट्रिय सभा बैठक सूचना टाँसेर स्थगन गरिएको छ । अर्को बैठकको मिति तोकिएको छ । प्रतिनिधिसभाको आगामी १३ गतेका लागि तय गरिएको बैठक पनि विधिवत रूपमा अन्त्य गर्ने तयारी गरिएको छ । कार्यव्यवस्था परामर्श समितिका एक सदस्यले दुवै सदनलाई विधिवत रूपमा अन्त्य गर्ने सरकारको मनस्थिति रहेको बताए ।
प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकमा बिहीबार कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले १५–१६ गते नै संघीय संसद्को बैठक अन्त्य गर्ने मनस्थितिमा सरकार रहेको जानकारी दिएकी थिइन् । ‘बैठकको अन्त्य राष्ट्रपतिबाट गर्नुपर्ने भएकाले अहिले प्राविधिक रूपमा मात्र स्थगित गरिएको हो,’ कार्यव्यवस्था बैठकमा सहभागी ती सदस्यले भने, ‘केही सन्धि अनुमोदन र महत्त्वपूर्ण विधेयक पारित गराउन सकिन्छ कि भन्ने सोच सरकारको देखिन्छ तर परिस्थिति झन्–झन् जटिल बन्दै गएकाले संसद् फेरि चलाउन त्यति सम्भव छैन ।’
राष्ट्रिय सभाको बिहीबारको बैठक पनि प्रमाण विधेयक पारित गराउन बसेको थियो । सरकारको अनुरोधकै आधारमा राष्ट्रिय सभाको बैठक बसेको संसद् सचिवालयले जानकारी दिएको छ ।

Page 16
समाचार

पूर्वतयारी तीव्र, सामग्री अभाव

- प्रदेश ब्युरो
बंगलादेशमा अध्ययनरत विद्यार्थी पूर्वी नाका काँकडभिट्टाबाट फर्कंदै । तस्बिर ः पर्वत पोर्तेल/कान्तिपुर

(काठमाडौं) - कोभिड–१९ संक्रमण रोक्न सीमामा हेल्थ डेस्कसँगै क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरिए पनि जनशक्ति र अत्यावश्यक सामग्रीतर्फ भने ध्यान दिइएको छैन । जिल्लाका कुनै पनि स्थानीय तहमा पर्याप्त स्वास्थ्यकर्मी छैनन् । औषधिसमेत अभाव छ । ‘अहिले पनि दरबन्दीअनुसार स्वास्थ्यकर्मी छैनन् । हेल्थ डेस्क सञ्चालन गर्न करारमा कर्मचारी राखेका छौं,’ कञ्चनपुरको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले भने । महामारी फैलिए औषधिको ठूलै अभाव हुन सक्ने देखिएको उनको भनाइ छ । स्वास्थ्यकर्मीको पदपूर्ति गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयसँग आग्रह गरिएको उनले बताए ।
भीमदत्त नगरपालिकाले पुरानो नर्सिङ क्याम्पस भवनमा ५० बेडको आइसोलेसन कक्ष र ५० बेडको क्वारेन्टाइन बनाउने तयारी थालेको छ । अन्य स्वास्थ्य संस्थामा समेत तयारी गरिए पनि आवश्यक स्वास्थ्यकर्मी छैनन् । नगरपालिकाभरका स्वास्थ्य संस्थामा ४० जना मात्र कार्यरत छन् । ‘महामारी फैलिएमा अहिलेकै जनशक्तिले नियन्त्रण गर्न सकिने अवस्था छैन,’ नगरपालिकाकी उपप्रमुख सुशीला सिंह चन्दले भनिन्, ‘अहिलेकै अवस्थामा पनि जनशक्ति पर्याप्त छैन ।’ उनका अनुसार गड्डाचौकीस्थित हेल्थ डेस्कका लागि स्वास्थ्यकर्मीलाई करारमा भर्ना गरिएको हो ।
ब्रह्मदेवको डेस्कमा दुई जना मात्रै स्वास्थ्यकर्मी छन् । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा १८ स्वास्थ्यचौकी र ३ प्राथमिक स्वास्थ्य केन्द्र छन् । कुनैमा पनि दरबन्दीअनुसारको जनशक्ति नहुँदा सामान्य अवस्थामा समेत सेवा प्रवाहमा समस्या हुने गरेको छ । ‘ग्लोब्स, मास्क र सेनिटाइजरलगायत स्वास्थ्य सामग्रीको पनि अभाव छ,’ बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले भने, ‘तर पनि हामीले रोकथामसँगै संक्रमण फैलिए त्यसका लागि पनि आवश्यक तयारी गरेका छौं ।’
स्थानीय तहका स्वास्थ्य केन्द्रमा मात्रै नभई महाकाली प्रादेशिक अस्पतालमा समेत दरबन्दीअनुसारको जनशक्ति छैन । विशेषज्ञसहित २८ डाक्टरको दरबन्दी भए पनि ११ जना मात्र कार्यरत रहेको अस्पतालका डाक्टर सरोज आचार्यले बताए ।’
सुनसान बन्दै नाका
यात्रु आवागमन र मालसामान आयात–निर्यातका लागि खुला गरिएको काँकडभिट्टा नाकामा शुक्रबारदेखि यात्रुको आवागमन घटेको छ । शुक्रबार दिउँसोदेखि पूर्वी नाकामा आवागमन घटेको डीएसपी राजेन्द्र
पोख्रेलले बताए ।
बंगलादेशका मेडिकल कलेजले पठनपाठन अनिश्चितकालका लागि स्थगन गरेपछि नेपाली विद्यार्थी फर्कन थालेका छन् । अध्यागमन कार्यालयका अनुसार ३ दिनमा करिब एक हजार विद्यार्थी घर फर्किएका छन् । बुधबार ३ सय ८ र बिहीबार ३ सय ८७ विद्यार्थी पूर्वी नाकाबाट फर्किएका हुन् । बंगलादेशमा करिब ५ हजार नेपाली अध्ययनरत रहेको बंगलादेशस्थित नेपाली दूतावासले जनाएको छ ।

बन्दै आइसोलेसन र क्वारेन्टाइन
कोभिड–१९ संक्रमितलाई राख्न झापाको भद्रपुरस्थित कलबलगुडीमा ३२ शय्याको क्वारेन्टाइन निर्माण भएको छ । मेचीनगरको सतिघट्टा क्षेत्रमा क्वारेन्टाइन निर्माणको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । मानव बस्तीभन्दा अलग्गै रहेको र प्रयोगविहीन २२ वटा पुराना भवनमध्ये तीन कोठामा क्वारेन्टाइन राखिनेछ ।
दोलखामा भने शुक्रबारसम्म २० वटा आइसोलेसन बेड तयार पारिएको छ । स्वास्थ्यकर्मीले भने व्यक्तिगत सुरक्षा सामग्री नभएको गुनासो गरेका छन् । मास्क र पन्जाकै भरमा उपचारमा संलग्न हुनुपरेको अस्पातालका मुख्य चिकित्सक डा. विनोद दंगालले गुनासो गरे । जिल्ला छिर्ने दुईवटा नाका किर्नेटार र खरीढुंगामा सहायता कक्ष स्थापना गरिएको छ । उत्तरी सीमा क्षेत्र लामाबगरमा सञ्चालित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत चिनियाँलाई कार्यस्थलबाहिर हिँड्न रोक लगाइएको छ ।
यसैबीच, प्रदेश १ सरकारले संक्रमणको जोखिम कम गर्न नेपाल–भारत आउजाउ रोक्न संघीय सरकारसँग माग गरेको छ । शुक्रबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले नाका आउजाउ हुने नाका बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । सुनसरीका १२ नाकामा हेल्थ डेस्क राखिए पनि भरपर्दो देखिएको छैन । दक्षिणी भेगका विभिन्न नाकामा राखिएका डेस्कका कर्मचारीले सामान्य ग्लोब्स र मास्क लगाएर भारतबाट प्रवेश गर्नेलाई थर्मल स्क्यानरले ज्वरो जाँच गर्दै आएका छन् । बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले सीमा नाकामा आवतजावत रोक्ने निर्देशन नभएकाले सामान्य जाँच गरेर नेपाल प्रवेश गर्न दिइएको बताए ।

भवानी भट्ट (कञ्चनपुर), पर्वत पोर्तेल (काँकडभिट्टा), राजेन्द्र मानन्धर (दोलखा) र प्रदीप मेन्याङ्बो (सुनसरी)

समाचार

सय बेडमाथिका अस्पतालले बिरामी रेफर गर्न नपाउने

- अतुल मिश्र

(काठमाडौं) - राजधानीमा रहेका एक सयभन्दा बढी शय्याका निजी अस्पतालले अनिवार्य ज्वरो क्लिनिक सञ्चालन गर्नुपर्ने भएको छ । ती अस्पतालमा उपचारका लागि गएका बिरामीलाई अन्यन्त्र रेफर गर्न पाइनेछैन । उनीहरूले बिरामीको निःशुल्क उपचार गर्नुपर्नेछ ।
‘कोरोनाका शंकास्पद बिरामीलाई अन्यन्त्र रेफर गर्न पाउँदैनन्,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने, ‘बिरामीलाई आइसोलेसनमा राख्नुपर्‍यो, परीक्षण परिणाम कुर्नुपर्‍यो र संक्रमण देखिए निःशुल्क उपचारसमेत गर्नुपर्‍यो ।’ त्यहाँ उपचार सम्भव नभए मात्र सरकारले तोकेको अस्पतालमा पठाउनुपर्नेछ । ज्वरो क्लिनिक चलाउने अस्पतालले शंकास्पद बिरामीको घाँटीको र्‍यालको नमुना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनुपर्नेछ । शुक्रबारदेखि एक सयभन्दा बढी शय्याका हरेक अस्पताललाई ५० वटाका दरले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) दिन थालिएको छ । राजधानीमा सयभन्दा बढी शय्याका सात वटा अस्पताल छन् ।
हाल सरकारले शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताललाई कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्ने विशेष अस्पतालका रूपमा तोकेको छ । बिरामीको संख्या हेरी थप अस्पताललाई समेत तोक्न सकिने डा. पोखरेलले बताए । आइतबारदेखि शुक्रराज ट्रोपिकललाई संक्रमितको उपचार गर्न मुख्य अस्पतालका रूपमा परिणत गरिनेछ । यहाँ आइसोलेसन वार्ड, क्वारेन्टाइनसहित एक सय शय्यासँगै २० वटा आईसीयू शय्या पुर्‍याउने तयारी भएको डा. पोखरेलले बताए । यहाँ भर्ना भएका एचआईभी र क्षयरोगका बिरामीलाई सामान्य अवस्थामा घर वा वीर र त्रिवि शिक्षण अस्पताल पठाइने भएको छ । यस्तै, यहाँबाट दिइरहेको एन्टिरेबिज खोपसमेत जिल्ला जनस्वास्थ्य कार्यालयमा सारिएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आकस्मिकबाहेक पछि गर्न सकिने खालका शल्यक्रियासमेत हाल रोक्न भनेको डा. पोखरलले बताए ।

प्रयोगशालाको दैनिक परीक्षण बन्द
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ठूलो संख्यामा कोभिड–१९ परीक्षण गर्नुपर्ने भएकाले आइतबारदेखिका सबै दैनिक परीक्षण सेवा बन्द गरिएको छ । उपत्यकाभित्रका स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभाग/कार्यालयमा कार्यरत सहसचिवस्तरका कर्मचारी, विभागीय प्रमुखलाई सार्वजनिक बिदाका दिनमा समेत काजमा काम गर्न भनिएको छ । उपसचिव र अधिकृत स्तरका कर्मचारीलाई काठमाडौं उपत्यका नछाड्न सचिवस्तरीय बैठकले निर्देशन दिएको छ ।

६ विदेशी डिस्चार्ज
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट शुक्रबार ६ जना विदेशी नागरिक डिस्चार्ज भएका छन् । कोभिड–१९ संक्रमण पुष्टि नभएपछि उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालका डा. अनुप बाँस्तोलाले बताए ।

 

Page 17
खेलकुद

रोकिए महिनाभरका प्रतियोगिता

- आनन्द गौतम

(ताप्लेजुङ) - जिल्लामा हुने खेलकुद प्रतियोगिता धमाधम स्थगित गर्न थालिएको छ । चैत २५ देखि हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद स्थगित भएको छ । जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधी पौडेलले प्रतियोगिता स्थगित भएको बताए । फुङलिङ नगरपालिकाले चैत २१ देखि गर्ने प्रतिोगिता पनि स्थगित हुने नगरपालिकाका खेलकुद विभाग प्रमुख पदमसुन्दर पालुङवाले बताए ।
वर्षौदेखि लाग्दै आएको रामनवमी मेला पनि यो वर्ष स्थगित हुने भएको छ । मेलामा फुटबल, भलिबललगायतका प्रतियोगिता हुँदै आएको थियो । शिसास क्लबका अध्यक्ष ऐश्वर्य थापाका अनुसार सबैतिर बन्द भइरहेको बला प्रतियोगिता गर्नु उपयुक्त नभएकाले स्थगित गरिएको हो । मेला भनिए पनि यहाँ खेलकुद प्रतियोगिता हुने गरेका थिए । आकर्षक प्रतियोगिता भएकाले ताप्लेजुङ र छिमेकी जिल्लाहरू तेह्रथुम, पाँचथर, संखुवासभाका समेत टिमहरू आउने गरेका छन् । यहाँ चैत २० मा सकिनेगरी प्रतियोगिता तय गरिएको थियो ।
मिनी स्पोर्टिङ क्लबले फुङलिङ नगरपालिका १० फरुम्बुमा गर्ने जिल्लास्तरीय प्रतियोगिता पनि स्थगित गरेको खेलकुद विकास समितिले जनाएको छ । पौडेलका अनुसार वैशाखका लागि प्रतियोगिता तय गरिएको थियो । ‘आयोजक पदाधिकारी परामर्शका लागि आउनुभएको थियो, मैले सिडियो साबसँग परामर्श गर्नुहोस्, सबैतिर बन्द भइरहेको छ भनें,’ पौडेलले थपे, ‘उहाँहरू प्रशासन पुगेर फर्किएपछि अहिलेलाई स्थगीत गर्‍यौं भन्नुभयो ।’ पालिकास्तरीय राष्ट्रपति छनोट प्रतियोगिता गराउने तयारीमा रहेका गाउँपालिकाहरूले पनि बन्द गर्ने तयारी गरेको जनाएका छन् । जिल्लामा अहिलेसम्म कुनै संक्रमण नदेखिए पनि अकस्मात कसैलाई केही भए जिम्मेवारी लिनुपर्ने भएकाले प्रतियोगिता नगर्नु उपयुक्त हुने ठानेको पालुङवा बताउँछन् । जिल्लामा एक नगरपालिका र आठ गाउँपालिका छन् । सबैजसोले अन्तिम अवस्थामा मात्रै छनोट गर्ने तयारी गरेका थिए ।

खेलकुद

खेलाडीलाई सचेतना

ओलम्पिक छनोटको तयारीमा रहेका सबै खेलाडी र प्रशिक्षकको परीक्षण गर्ने तयारी
- कान्तिपुर संवाददाता

(काठमाडौं) - नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) बारे नेपाली खेलाडीका लागि सचेतना कार्यक्रम सुरु गरेको छ । सम्भावित संक्रमणको पूर्व तयारीका लागि खेलाडीलाई कोरोना संक्रमण हुनसक्ने अवस्था र त्यसपछिका लक्षणबारे जानकारी गराइएको थियो ।
सातदोवाटोस्थित एनओसी मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममा आसन्न टोकियो ओलम्पिकमा नेपालबाट वाइल्ड कार्ड प्रवेशका लागि छनोट भएका खेलाडी, उनीहरूका प्रशिक्षक, १३ औं दक्षिण एसियाली खेलकुदमा एकभन्दा बढी स्वर्ण जित्ने चर्चित खेलाडीलाई एनओसी पदाधिकारी तथा चिकित्सक प्यानलका सदस्यहरूले कोरोना भाइरस र डोपिङबारे जानकारी गराएका थिए ।
‘विश्वमै महामारीको रूप लिइरहेको कोरोना संक्रमित नेपालमा अहिलेसम्म नदेखिए पनि हामी त्यसप्रति सजग रहँदै यसको संक्रमणबाट कसरी बच्ने, खेलाडीले आफ्नो फिटनेसलाई कसरी सन्तुलित राख्ने र समस्या आएमा कोसँग सम्पर्क गर्ने भन्नेबारे सचेतना कक्षा सञ्चालन गरिएको हो,’ एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘कोरोनाको त्राससँगै खेलाडीले डोपिङबारे पनि त्यत्तिकै चनाखो हुनुपर्छ ।’
जुलाईमा जापानमा हुन लागेको ग्रीष्मकालीन ओलम्पिक निर्धारित समयमै आयोजना गर्नेबारे अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आफ्नो दृष्टिकोण यसअघि नै सार्वजनिक गरिसकेको छ । उसले ओलम्पिकका लागि छनोट प्रतियोगिता जुनसुकै समयमा आयोजना गर्नसक्ने भएकाले खेलाडीलाई त्यसबारे पनि सतर्क गराइएको छ । ‘तौलका खेलाडीहरू केही दिन प्रशिक्षण गर्न सकेनन् भने फिटनेसमा समस्या हुन्छ । डाइट नियमन गर्नेदेखि घरमै वेइङ मेसिन राखेर फिटनेसमा ध्यान दिन पनि आजको कार्यक्रम उनीहरूका लागि उपयोगी भएको छ,’ अध्यक्ष श्रेष्ठले कान्तिपुरसँग भने ।
एनओसीले डा. सरोजकृष्ण श्रेष्ठको संयोजकत्वमा चिकित्सक प्यानल गठन गरेको छ । प्यानलमा पाटन अस्पतालका प्रोफेसर डा. नवेशमान सिंह प्रधान, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का डा. राजु डंगोल महर्जन, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त चन्द र नेपाल प्रहरीका डा. पुनम पाठक छन् ।
प्यानलका संयोजक तथा एनओसी चिकित्सा कमिसन प्रमुख सरोजकृष्ण श्रेष्ठले सबै खेलाडीलाई कोरोनाप्रति सचेत रहन र संक्रमणको शंका लागेमा एनओसीको चिकित्सक प्यानलका सदस्यसँगको परामर्शमा मात्रै उपचार गर्न सुझाए । ‘कोरोनाको औषधि अहिलेसम्म छैन । हल्लाको पछि लागेर जथाभावी औषधि सेवन गर्दा डोपिङको डर पनि उत्तिकै हुन्छ,’ सबै खेलाडीलाई सचेत गर्दै डा. श्रेष्ठले कान्तिपुरसँग भने, ‘घाँटी दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या आयो भने तत्कालै हामीसँग सम्पर्क गर्नुहोस् ।’
डा. श्रेष्ठले एनओसीले आसन्न ओलम्पिकका लागि छनोटको तयारीमा रहेका खेलाडीको हकमा विशेष व्यवस्था गर्न लागिएको जानकारी दिएका छन् । अन्य खेलाडीले पनि समस्या आएमा आफूखुसी औषधि सेवन नगर्न भनेका छन् । ओलम्पिक कमिटीले करातेका २, आर्चरीका २, तेक्वान्दोका १, सुटिङका २, भारोत्तोलनका २, जुडोका २ र बक्सिङका १ खेलाडीलाई ओलम्पिक छनोट र वाइल्डकार्ड प्रवेशका लागि छनोट गरेको छ । अनिवार्य सहभागिताअन्तर्गत पौडीका गौरिका सिंह र एलेक्स शाह छन् ।


डा. श्रेष्ठका अनुसार ओलम्पिक छात्रवृत्तिअन्तर्गत छनोट प्रतियोगिताको तयारीमा रहेका सबै खेलाडीलाई कोरोना परीक्षण गराउने तयारी भएको छ । ‘कन्ट्याक गेम’ का खेलाडीका हकमा ‘स्पाइरिङ पार्टनर’ को समेत स्वास्थ्य परीक्षण गराउने र सुरक्षित खेलस्थलमा प्रशिक्षणको व्यवस्था मिलाउने तयारी भइरहेको छ । भारोत्तोलन लगायतका खेलको हकमा प्रशिक्षणस्थल पूर्ण सुरक्षित हुनुपर्नेछ । कार्यक्रममा सहभागी खेलाडीले पनि प्रशिक्षण र फिटनेसमै चिन्ता व्यक्त गरेका थिए । ‘भारोत्तोलन खेलाडीले एक हप्ता प्रशिक्षण गर्न पाएन भने उसको फिटनेस निकै कमजोर हुन्छ । जुडो, करातेजस्ता मार्सल आर्ट खेलका लागि स्पाइरिङ पार्टनर अनिवार्य हुन्छ । सहभागी खेलाडी तथा प्रशिक्षकको यस्ता चिन्ताबारे हामी ओलम्पिक कमिटीको निर्देशनअनुसार आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने छौं,’ डा. श्रेष्ठले भने ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सचेतना कार्यक्रमले खेलाडीमाझ सबै भ्रम हटेकामा खुसी व्यक्त गरे । ‘सामाजिक सञ्जालमा व्याप्त हल्लाका कारण हामी अन्योलमा थियौं । विशेषज्ञ चिकित्सकको सल्लाहपछि हामी धेरै स्पष्ट भएका छौं । कोरोनाबारे सचेतना खेलाडीले मात्र होइन उनीहरूका सम्पर्कमा आउने सर्वसाधारणका लागि पनि उत्तिकै उपयोगी हुनेछ,’ उनले भने ।
अध्यक्ष श्रेष्ठले अप्ठेरो समयमा खेलको प्रकृति हेरेर प्रशिक्षण योजना परिवर्तन गर्न ध्यान दिनुपर्ने बताए । उनले थपे, ‘विशेष गरी ओलम्पिकको तयारीमा रहेका खेलाडीको हकमा पूर्ण प्रशिक्षण गर्न नपाए पनि उनीहरूको स्टामिना कमजोर हुन नदिने र फिटनेसमा ध्यान दिने गरी घरमै तयारी गर्न सकिन्छ ।’ कार्यक्रममा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीले कोरोना भाइरससम्बन्धी भ्रम र यथार्थका साथै सजगता अपनाउनुपर्ने विषय, लक्षणलगायतबारे विस्तृत जानकारी गराए ।

खेलकुद

मुख्यमन्त्री कप आयोजकलाई सफाइ

- कान्तिपुर संवाददाता

(मोरङ) - प्रदेश १ को सार्वजनिक लेखा समितिले मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता आयोजक समितिलाई शुक्रबार सफाइ दिएको छ । प्रतियोगितामा अनियमितता भएको भन्दै सांसदहरूले प्रदेशसभामा आवाज उठाएपछि लेखा समितिले छानबिन थालेको थियो । प्रतियोगिता असार १६ देखि ३१ सम्म भएको थियो ।
समितिका अध्यक्ष शिवनारायण गनगाईले प्रतियोगितामा भएको खर्चमा कुनै किसिमको अनियमितता नदेखिएकाले सफाइ दिने निर्णय गरेको बताए । ‘प्रतियोगिता आयोजक समितिले लेखा समितिमा बुझाएको सम्पूर्ण लेखासम्बन्धी कागजातको अध्ययनमा बहाल र पारिश्रमिक कर १७ हजार ६ सय नतिरेको पाइयो,’ उनले भने, ‘उक्त रकम कर दाखिला गरिसकेको र अन्य कुनै किसिमको आर्थिक अनियमितता नदेखिएकाले सफाइ दिने निर्णय गर्‍यौं ।’
अखिल नेपाल फुटबल संघ (एन्फा) र सामाजिक विकास मन्त्रालयबीच ५ वर्षका लागि मुख्यमन्त्री कप लिग गर्ने सम्झौताअनुसार प्रदेश १ मा प्रतियोगिता भएको थियो । मन्त्रालयले प्रतियोगिताका लागि १ करोड अनुदान उपलबध गराएको र एन्फाले ३३ लाख दिने सम्झौता पत्रमा उल्लेख थियो ।
सम्झौताअनुसार एनफाले प्रतियोगितामा सहभागी जिल्लालाई ३–३ लाखका दरले ३३ लाख उपलब्ध गराउनुपर्नेमा प्रतियोगिता सम्पन्न भइसक्दा पनि उपलब्ध गराइएको थिएन । लेखा समितिका सभापति गनगाईले एन्फाले केही जिल्लालाई मात्रै १–२ लाख उपलब्ध गराएको तथ्य फेला परेपछि ११ वटै जिल्लालाई ३–३ लाखको दरले रकम उपलब्ध गराउन निर्देशन दिएको र उक्त रकम भुक्तानी दिएको कागजात समितिमा पेश गरेपछि निर्णय गरेको बताए । एन्फाले ११ जिल्लाको रकम भने पनि लेखा समितिको निर्देशनपछि मात्रै पठाइएको तथ्य सार्वजनिक भएको छ ।
अबको बाँकी अबधीमा प्रतियोगिता सञ्चालन गर्दा समयमै रकम उपलब्ध गराउन र अझै पारदर्शी तरिकाले खर्च गर्न आयोजक समितिलाई निर्देशन दिएको सभापति गनगाईले बताए । एन्फाले किरण राईको संयोजकत्वमा मुख्यमन्त्री कप लिगका लागि समिति गठन गरेर प्रतियोगिता गरेको थियो ।
प्रतियोगिताको आयोजक, सहभागी टिम, प्रतियोगितामा भएको खेल, खेल भएको स्थान, प्रतियोगिता लागत, लागतको स्रोत, तेह्रथुमको टिमलाई गरिएको विभेदलगायतका पक्षमा लेखा समितिले छानबिन गरेको थियो ।
एन्फाको सामाजिक मन्त्रालयसँग सम्झौता भएपछि प्रतियोगिता सञ्चालन कार्यविधि निर्माण गरी आयोजना गरिएको थियो । ‘उक्त कार्यविधि र एन्फाको नियमअनुसार प्रतियोगिता गरिएको थियो,’ गनगाईले भने, ‘तेह्रथुम, सुनसरी र धनकुटाको लिग चरणको खेलमा ८–८ अंक प्राप्त भएपछि प्राविधिक टोलीले गोलका आधारमा दिएको प्रतिवेदनअनुसार तेह्रथुमलाई खेलबाट बाहिरिएको भनिएको गलत साबित भएको छ ।’ तेह्रथुमलाई प्रतियोगिताबाट निकाल्नु गलत भएको आयोजकले स्विकारेको तर त्यो प्राविधिक पाटो भएकाले सामाजिक विकास समितिलाई छानबिन गर्न पठाएको गनगाईले बताए ।
तेह्रथुम टिमले भत्ता बुझेर गइसकेको तीन दिनपछि अनियमित तरिकाले प्रतियोगिताबाट बाहिर निकालेको उजुरी गरेकाले समस्या भएको आयोजक समितिका संयोजक राईले लेखा समितिमा बयान दिएका थिए ।
प्राविधिक टोलीले अनियमित रूपमा प्रतिवेदन दिएको उजुरी एन्फा नियमअनुसार तेह्रथुमका टिम भोलिपल्टै १० हजार धरौटीसहित निवेदन दिनुपर्नेमा त्यस्तो नगरेकाले न्याय दिन समस्या भएको उनको बयानमा उल्लेख छ । यसबारे सामाजिक विकास समितिले निर्णय गर्न बाँकी छ । समितिकी सभापति सरिता थापाले चाँडै समितिको बैठक बसेर त्यस सम्बन्धमा निर्णय लिने बताइन् ।

खेलकुद

भीमनारायण गोल्डकप स्थगित

- कान्तिपुर संवाददाता

धनकुटा (कास)– आगामी साता हुने भनिएको १५ औं सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्थगित गरिएको आयोजकले जनाएको छ ।
चैत दोस्रो साता प्रतियोगिता गरिने तय थियो । अनिश्चितकालका लागि स्थगित गरिएको जिल्ला फुटबल संघ धनकुटाका अध्यक्ष गोविन्द राईले बताए । एन्फा र राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिता स्थगित गर्न सूचना जारी गरेसँगै प्रतियोगिता स्थगित गरिएको हो ।
२०५५ सालदेखि सुरु प्रतियोगिता हरेक वर्ष धनकुटाको तल्लो टुँडिखेलमा हुँदै आएको छ । प्रतियोगितामा ‘ए’ डिभिजन लिगसहित भारत, भुटान, अफ्रिकन खेलाडीको टिम सहभागी हुँदै आएको सहिद भीमनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताए । धनकुटामा हुने प्रतियोगितामध्ये भीमनारायण गोल्डकप सबैभन्दा बढी पुरस्कार राशिको हो । विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

मेयर कप पनि
चैत अन्तिम साता हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता अर्को सूचना जारी नहुन्जेल स्थगित गरिएको आयोजकले जनाएको छ । धनकुटा नगरपालिकासँगको सहकार्यमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता गर्ने तयारी गरेको थियो । विजेताको ७५ हजार र उपविजेताको ५० हजार रुपैयाँ पुरस्कार रहेको छ । स्थिति सहज भएपछि प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

 

Page 18
खेलकुद

श्रीलंकाको स्वप्निल यात्रा

(कोलम्बो) - बलले बाउन्ड्री पनि छोएको थिएन, दुईवटा स्टम्प मैदानबाट निकालिसकेको थियो । उनी त्यसलाई सम्झनाका रूपमा राख्न चाहन्थे । तर उनले खासै फरक भाव देखाएनन्, उनी सामान्य नै देखिए । मुथैया मुरलिधरण भने मैदानभित्र छिर्न आतुर थिए । असन्का गुरुसिंघे उनलाई उछिन्ने तर्खरमा थिए । अर्जुन रणतुंगाले ब्याट काखीको बीचमा च्यापे र मार्क टेलरतर्फ लागे । टेलरको बधाई स्विकारे र उनलाई उत्तिकै भद्र तरिकाले धन्यवाद दिए ।
मैदानमा प्रवेश गर्नेहरूले बाउन्ड्री काटिसकेका थिए । त्यसमध्ये सबैभन्दा पहिलो मध्यभागमा श्रीलंकाली खेलाडी पुगे, त्यसपछि केही सुरक्षाकर्मी अनि फोटो पत्रकार, आयोजक र केही प्रशंसक पनि । रणतुंगाले धेरैको अंगालोमा पालो–पालो बेरिए । त्यसपछि मात्र उनले अरबिन्द डी सिल्भा नजिक पुगे । मुरलीलाई आफ्नो नजिक ताने । सबै रणतुंगालाई बधाई दिन चाहन्थे । केही प्रशंसक उनको पछाडिबाट धाप मारिरहेका थिए, केहीले उनको नाकमै चुम्बन पनि गरे ।
टोनी ग्रेग पनि कमेन्ट्रीमा उत्तिकै उत्साही थिए । उनी भनिरहेका थिए, ‘यो कथा हो, परीको जस्तो । उनीहरूले आज जितेनन् मात्र, राम्रैसँग जिते । उनीहरूले त्यसरी क्रिकेट खेले, जसरी आमदर्शक हेर्न चाहन्छन् । श्रीलंकाली क्रिकेटको इतिहास लामो छैन, तर यहाँसम्म पुग्न उनीहरूले धेरै लामो बाटो तय गरिसकेका छन् ।’ त्यसको केही समयपछि रणतुंगाले बेनजिर भुट्टोको हातबाट ट्रफी लिए र केही सेकेन्डका लागि माथि उचाले, सबैले देख्ने गरेर ।
त्यसको ६ महिनाअगाडि मात्र सट्टेबाजले सन् १९९६ को विश्वकप श्रीलंकाले जित्नेछ भनेर १–६६ को भाउ दिएका थिए । कसैले पनि श्रीलंकाको सम्भावना नै देखेका थिएनन् । खासमा रणतुंगाले विश्व क्रिकेट इतिहासमै सबैभन्दा ठूलो एउटा उपलब्धि आत्मसात् गरेका थिए । सबै खुसी थिए, तर उनले अझै पनि खासै ठूलो प्रतिक्रिया दिन चाहेका थिएनन् । मध्यरातसम्म रणतुंगा, ट्रफी र पूरा टिम कोलम्बो पुगिसकेको थियो, हवाई यात्राबाट ।
सिद्धार्थ वेटिमुनि भन्छन्, ‘अर्जुन रणतुंगाले दिएको प्रतिक्रिया हेर्दा लाग्थ्यो, उनलाई श्रीलंकाले विश्वकप जित्छ भनेर पहिल्यै थाहा थियो । वेटिमुनि त्यस विश्वकपका बेला श्रीलंकाली छनोटकर्ता थिए । त्यसअघि खेलाडी । लाग्थ्यो, रणतुंगा विश्वकप जित्नेमा ढुक्क थिए । उनको टिमका खेलाडीमध्ये केही पार्टटाइम बैंक कर्मचारी थिए, केही इन्स्योरेन्स एजेन्ट अनि केही सेल्सम्यान । टिममा गज्जबको एकजुटपन थियो । त्यसैले जित सम्भव पनि भयो ।

खराब र गरिब समय
श्रीलंकाले सुरुआती १५ ओभरमा आक्रामक ब्याटिङ नमुना पेस गरेको थियो, तर सनथ जयसूर्या लयमा थिएनन् । प्रारम्भिक ब्याट्सम्यानका रूपमा २६ रनभन्दा मुनिको औसतबाट गुज्रिइरहेका थिए । विश्वकपअगाडि अस्ट्रेलियामा भएको त्रिकोणात्मक एकदिवसीय शृंखलामा उनको प्रदर्शन राम्रो थिएन । उनका प्रारम्भिक ब्याट्सम्यान जोडी रोमेश कालुविथर्नाले भने केही राम्रो गरिरहेका थिए । समग्रमा भन्दा टिमका रूपमा श्रीलंकाको प्रदर्शन राम्रो हुन सकेको थिएन ।
स्पिनरमध्ये मुरली र कुमार धर्मसेना पनि उत्कृष्ट लयमा थिएनन् । उनीहरू महँगा साबित भइरहेका थिए । दुवैको औसत आँकडा खराब थियो । त्यसमाथि श्रीलंकाली क्रिकेट बोर्डसँग केही थिएन, विश्वकपअगाडि टिमलाई पठाउन उससँग ५ हजार ७ सय डलरमात्र थियो । त्यसैले बोर्डले भिखारीले जस्तै प्रायोजक र केही कर्पोरेट कार्यालयमा धाउने गर्थ्यो । खेलाडीको स्थिति अझ दयनीय थियो । कोलम्बो बाहिरका खेलाडीसँग त्यस सहरमा बहाल तिर्न पनि पर्याप्त पैसा थिएन ।
त्यसैले यी खेलाडी पनि सहयोगका लागि आफ्नो परिवार र नातेदारमा आश्रित थिए । जयसूर्या मात्र होइन, प्रमोद विक्रमसिंघे जस्ता खेलाडी महिनौं रणतुंगाको घरमा बस्थे । उनीहरू रणतुंगाको कोलम्बोमा रहेको घरमा उनका भाइहरूसँग कोठा बस्थे । रणतुंगा ती दिन सम्झेर भन्थे, ‘सुत्दा सनथ चर्को स्वर निकालेर घुर्थे । त्यसैले म विकल्पमा कुनै न कुनै कोठा खोजिरहन्थें । हामीसँग त्यस्तो केही पनि सुविधा थिएन, जुन आधुनिक क्रिकेट खेलाडीसँग हुने गर्छर् । हामीले होटलमा खाना खानेबारे पनि सोच्न सक्दैनौं थियौं । तर टिममा एकता भने थियो ।’
जति बेला रणतुंगाले खेलाडी साथीका लागि थप कोठा मिलाउन सकेनन् । डी सिल्भा अगाडि सरे र उनले केही खेलाडीको बस्ने बन्दोबस्ती गरे । रवीन्द्र पुष्पकुमारालाई विदेशी खेलाडी भेट्दा लाज लाग्थ्यो । उनी भन्छन्, ‘क्रिकेट खेल्नकै लागि चाहिने केही साम्रगीबाहेक मसँग खाली एकजोर जुत्ता र लुगामात्र हुन्थ्यो । हाम्रो तुलनामा त केही विदेशी पहिलो श्रेणीकै खेलाडी धनी हुन्थे वा उनीहरूसँग बढी सुविधा हुनथ्यो ।’

देशको कमजोर स्थिति
सन् १९९६ तिर श्रीलंका बाँकी विश्वका लागि सुरक्षित ठाउँ पनि थिएन । कोलम्बोमा नियमित अन्तरमा बम विस्फोट भइरहन्थ्यो अनि देशको यो राजधानीमा उत्तर र पूर्वबाट बरोबर आक्रमण भइरहन्थ्यो । विश्वकप सुरु हुन १८ दिनअगाडि मात्र जनवरी ३१ मा कोलम्बोमा ठूलो बम विस्फोटन भयो । केन्द्रीय बैंकअगाडि भएको त्यस विस्फोटनमा ९१ जनाको मृत्यु भएको थियो भने १ हजार ४ सयभन्दा बढी नराम्रोसँग घाइते पनि भए । कोलम्बो आफैंमा स्तब्ध थियो, स्कुल खुलिरहेको थिएन ।
कर्मचारी कार्यालय फर्कन मानिरहेका थिएनन् । बस र ट्रेनमा बस्नु भनेको भयभित हुने अवस्था थियो । सरकारले कडा सुरक्षा व्यवस्था भने गरेको थियो । सडकमा जताततै सैनिक जवान देखिन्थे । यही बेला श्रीलंकामा खेल्न आउन अस्वीकार गरे, अस्ट्रेलिया र वेस्ट इन्डिजले । यो कोही पनि श्रीलंकालीका लागि सहनसक्ने स्थिति थिएन । यो त पीडामाथि पीडा थियो । झन् त्यसको केही साताअघि मात्र मुरलीको बलिङ शैलीमाथि नै प्रश्न उठेको थियो । उनलाई अस्ट्रेलियाली अम्पायरले नो बल दिइरहेको स्थिति थियो । अस्ट्रेलियाका भ्रमणकै क्रममा श्रीलंकाली खेलाडी लगातार ‘स्लेजिङ’ को सिकार भइरहेका थिए । अस्ट्रेलियाली खेलाडीले श्रीलंकाली टिममाथि जसरी हुन्छ, दबाबमा राख्ने प्रयास गरेका थिए । तर धेरैलाई के थाहा छैन भने विश्वकपमा सहभागी हुन कसैले नजानेर मदत गरेको थियो भने त्यो अस्ट्रेलियाली क्रिकेट बोर्ड थियो । अस्ट्रेलियामा आएर खेलवापत बोर्डले सुरुमा श्रीलंकालाई एक लाख अस्ट्रेलियाली डलर दिने भएको थियो ।

वाट्मोरको आगमन
पछि श्रीलंकाली क्रिकेट बोर्डले प्रशिक्षक पनि राख्न नसक्ने भनेपछि त्यो रकम दोब्बर बनाइयो । श्रीलंकाले त्यही पैसाबाट प्रशिक्षकमा डेव वाट्मोरलाई नियुक्त गरेको थियो । श्रीलंकाली टिमका फिजियोथेरापिस्ट एलेक्स कोन्टोरिसका लागि क्रिकेट न्यु साउथ वेल्सले केही रकम प्रदान गरेको थियो । तिनै वाट्मोरले श्रीलंकाली टिममा दुई नयाँ तथ्य भित्र्याएको थियो, पहिलो खेल्ने शैली र त्यसका लागि चाहिने पद्धति । नत्र गैरव्यावसायिक श्रीलंकाली खेलाडी रमाइलोका लागि क्रिकेट खेल्थे, त्यो पनि धेरै वर्ष पुरानो शैलीले ।
वाट्मोरले श्रीलंकाली खेलाई व्यावसायिक जस्तो भएर खेल्न सिकाए । वाट्मोरसँगै एलेक्स पनि आए, सहयोगीका रूपमा । उनले श्रीलंकाली खेलाडीको फिटनेस स्तर बढाउन मदत गरे । त्यति बेला चामिन्दा भास २ विकेट लिने खेलाडी थिए । ५ विकेट लिने उनको हैसियत थिएन । ब्याट्सम्यान पनि अर्धशतकसम्म त पुग्थे, तर त्यसलाई शतकमा पूरा गर्नसक्ने खालका थिएनन् । एलेक्सले श्रीलंकाली खेलाडीसँग दिनरात मिहिनेत गरे, उनी मध्यरातसम्म पनि काम गरिरहन्थे ।
बक्सिङ डेको दिन मुरलीलाई अस्ट्रेलियामा नो बल दिइएको थियो । त्यो ‘ओभर स्टेपिङ’ का लागि थिएन । गुरुसिंघे अहिले सम्झन्छन्, ‘त्यो भ्रमणमा हामीले खाली एकपछि अर्को समस्या मात्र सामना गर्‍यौं । तर यसैले हामीलाई आक्रामक भएर राम्रो खेल्न सिकायो । अस्ट्रेलिया र वेस्ट इन्डिज टिम श्रीलंका आएर खेल्न नआउने भएपछि देशमा पनि एकताको लहर देखियो । यही बेला भारत र पाकिस्तानले पनि श्रीलंकाको समर्थन गरेको थियो, जसले धेरै अर्थ राख्यो । अभ्यास खेलका लागि भनेर त्यही बेला भारत र पाकिस्तानले आफ्नो टिम पठाएको थियो । कोलम्बो विमानस्थलमा त्यति बेला लेखिएको थियो, ‘हामी दुवै हात खोलेर तपाईहरूलाई स्वागत गरिरहेका छौं ।’
किन हो, त्यति बेला श्रीलंकाली टिममा अन्धविश्वासको पनि जगजगी थियो । यस्तो विश्वास कहाँबाट सुरु भयो, कसैलाई थाहा थिएन । टिम व्यवस्थापक दुलिप मेन्डिस यसै विश्वास कडिकडाउ भएर लागू गर्नेमा सबैभन्दा अगाडि थिए । जति बेला श्रीलंकाली ब्याट्सम्यान क्रिजमा हुन्थ्यो, ड्रेसिङ रूममा आफ्नो सिटबाट कसैले पनि यताउता गर्न नपाउने नियम मेन्डिसले लगाएका थिए । लेग स्पिनर उपुल चन्दना त्यति बेला भर्खर २३ वर्षका थिए । उनी भन्छन्, ‘जति बेला सनथ र कालु ब्याटिङ गरिरहेका हुन्थे, हामीले चिया पनि खान पाउँदैनथ्यो । हाम्रो काम जहाँ सुरुमा बसेका हुन्थ्यो, त्यहीं बस्नुपर्थ्यो । मैले आफ्नो खेलजीवनमा त्यस्तो स्थिति फेरि दोहोर्‍याएर कहिल्यै पनि देखिनँ ।’ कोही खेलाडी चलेको बेला ब्याट्सम्यान आउट भयो भने पूरा दोष उनीमाथि थुपारिन्थ्यो । रणतुंगालाई भने मेन्डिसको अन्धविश्वास लागू हुँदैनथ्यो ।

उपाधिसम्मको यात्रा
श्रीलंकाले पहिलो खेलमा अस्ट्रेलियाबाट वाकओभर पाएयता जिम्बावेलाई सजिलै हरायो । त्यसपछिका दुई खेलमा त हो, श्रीलंकाले लय समात्न सुरु गरेको । सचिन तेन्दुलकरले बनाएको १ सय ३७ रन मदतमा नयाँ दिल्लीमा भएको खेलमा २ सय ७१ रन बनायो । सुरुमा लागेको थियो, यो गाह्रो लक्ष्य हो, तर श्रीलंकाले सहज जित पायो, किनभने जयसूर्याले पहिलोपल्ट विश्वासिलो खेल प्रदर्शन गरेका थिए । उनले ७६ बलमा ७९ रन बनाए । श्रीलंका ६ विकेटले विजयी रह्यो । लगत्तै वेस्ट इन्डिजविरुद्धको खेल खेल्नै परेन ।
त्यसपछि श्रीलंकाको जित रह्यो केन्याविरुद्ध । त्यस खेलमा श्रीलंकाले ५ विकेट गुमाएर ३ सय ९८ रनको स्कोर खडा गरेको थियो । टिम क्वाटरफाइनल पुगिसकेको थियो । केन्याले त्यसअघि वेस्ट इन्डिजमाथि अविश्वसनीय जित निकालेको थियो । त्यस चरणमा श्रीलंकाको प्रतिद्वन्द्वी टिम थियो, इंग्ल्यान्ड । फैसलाबादमा भएको त्यस खेलअघि जयसूर्या भनिरहेका थिए, ‘मलाई घर निर्माण पूरा गर्न १ लाख ७५ हजार रुपैयाँ जति चाहिएको छ । त्यति भयो भने मलाई पुग्छ, त्यसपछि मलाई केही पनि चाहिन्न ।’
बेटिमुनिले उत्तर दिए, ‘सेमिफाइनल त पुगोस् त्यति रकम पाउनु कुनै ठूलो होइन । श्रीलंकालाई जिताएर त देखाऊ ।’ त्यो खेलमा पनि श्रीलंकाको पक्षमै रह्यो जित । सेमिफाइनल भारतविरुद्ध थियो, त्यो पनि कोलकाताको इडेन गार्डेनमा । त्यसमा श्रीलंकाले पहिले ब्याटिङ गर्दै ८ विकेटमा २ सय ५१ बनाएको थियो । जवाफमा भारतले ८ विकेटमा १ सय २० रनमात्र बनायो, ३४.१ ओभरमा । अर्को सेमिफाइनलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई पन्छाएको थियो ।
फाइनलमा अस्ट्रेलियाले ७ विकेटमा २ सय ४१ रन बनाएपछि श्रीलंकाले जवाफमा ४६.२ ओभरमा ३ विकेटमात्र गुमाएर २ सय ४५ रन बनायो । रणतुंगाले आफ्नो खेलजीवनकै सबैभन्दा उत्कृष्ट इनिङ्स खेले र त्यसमा खोट लगाउन मिल्ने ठाउँ कतै थिएन । डी सिल्भाको खेल पनि उत्तिकै बेजोड थियो । जुन विषम परिस्थितिबाट अगाडि बढेर श्रीलंकाले एकदिवसीय विश्वकप जितेको थियो, त्यो वास्तवमै अद्वितीय थियो । र, अहिले पनि पछाडि फर्केर हेर्दा श्रीलंकाको त्यो यात्रा साँच्चै स्वप्निल थियो, कल्पनामा मात्र बढी सोच्न सकिने ।

एन्ड्र्यु फिडेल

Page 19
कोसेली

माफी पाऊँ डीपी सर !

अबिच्युरी
- सञ्जय घिमिरे

डीपी भण्डारी , (१९९३ कात्तिक १३–२०७६ चैत १)

डीपी सर रहनुभएन ।
सधैंभर चर्का स्मृतिका कुरा गर्ने सरलाई आखिरमा विस्मृतिको रोगले लग्यो । यो खबर सुनेदेखि एक किसिमको नोस्टाल्जियामा छु । कहाँबाट सुरु गरौं लेख्न ?
एउटा यस्तो व्यक्ति, जो कहिले दार्शनिक–चिन्तकजस्तो, कहिले चामत्कारिक वक्ताजस्तो, कहिले चुम्बकीय लेखकजस्तो । कहिले पूर्वीय धर्म, अध्यात्म र अनुशासनको ज्ञाताजस्तो । कहिले पश्चिमी दर्शन, चिन्तन र रोमान्टिसिजमको एउटा पात्रजस्तो ।
कहिले उमेरमा मात्तिएको सुदूर गाउँको एउटा उन्मत्त ठिटोजस्तो, जो अक्सर मौकाको पर्खाइमा हुन्छ । तर, खासमा एउटा यस्तो प्रोफेसर, जो साँच्चिकै प्रोफेसरजस्तो । अर्थात् ज्ञान, चिन्तन, बोली र लेखनमा लय भएको एउटा मान्छे । त्यस्तो मान्छेको बारेमा म के लेखूँ ? सम्झनाहरू ठेलमठेल छन्, स्मृति उकुसमुकुस ।
यसैले कठिन भइरहेको छ उहाँका बारे लेख्न । सम्झिरहेको छु— उहाँसँग मृगस्थलीतिर डुलेको, ‘रंगीला’ फिल्म हेर्न गएको, कुनै एउटी युवतीलाई उहाँको सान्निध्यमा पुर्‍याएको । उहाँसँगका संवादहरूको रोमाञ्चकता र गहिराइका बारेमा त के भनिरहनु ?
के गरिएन ? र, के भएन उहाँको साथ संगत सान्निध्यतामा ?
२५ वर्षअघिको लक्ष्मीपूजाको दिन, जुन दिन मैले लक्ष्मी–पुत्र होइन, सरस्वती पुत्र उनै डा. दुर्गाप्रसाद भण्डारी (डीपी सर) लाई पहिलोपटक भेटेको थिएँ— काठमाडौं, पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी स्कुलको प्रांगणमा, जहाँ हरेक वर्ष लक्ष्मीपूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा कार्यक्रम हुने गर्छ ।
त्यो दिनको कार्यक्रममा प्रमुख अतिथि थिए पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र प्रमुख वक्ता थिए— डा. डीपी भण्डारी ।
म भर्खर राजधानी काठमाडौं छिरेको, शरीर र विचारले पनि एउटा दुब्लो–पातलो मान्छे । कत्तिले लुरे पनि भन्थे ।
त्यो कार्यक्रममा भण्डारी सरको भाषण सुनेपछि म यसरी प्रभावित भएँ कि, मञ्चबाट ओर्लनेबित्तिकै मैले उहाँलाई निकै आँट जुटाएर सोधें, ‘सर म तपाईंसँग कुरा गर्न चाहन्छु । तपार्इं मलाई समय दिन सक्नुहुन्छ ?’
उहाँले मलाई बहुत विनम्रतापूर्वक आफ्नो घरको ठेगाना दिनुभयो ।
एउटा प्रोफेसर, त्यो पनि अंग्रेजीको, जसले मजस्तो उमेर, शरीर र विचारको दुब्लो–पातलो मान्छेलाई आफ्नो घरमा आमन्त्रित गरिरहेको छ । मलाई खपिनसक्नुको खुसी र छटपटी भएको थियो त्यतिबेला । केही दिनपछि उहाँको घर खोज्दै म पुगेँ उहाँलाई भेट्न । उहाँलाई भेट्न जाँदा म जीवन र जगत्बारेका अनगिन्ती जिज्ञासाहरूले भरिएर पुगेको थिएँ ।
तिनै जिज्ञासामध्येबाट चार जिज्ञासा मैले सरसमक्ष राखें । जिज्ञासाहरू धूमिलप्रायः रूपमा अझै सम्झनामा छन् । तीमध्ये एउटा जिज्ञासा थियो— सर, प्रायः सबै धर्म–उत्पत्तिका सन्दर्भहरू दुःखहरूसँग जोडिएका छन्, जस्तो हिन्दुमा युद्धका कथाहरू छन्, बौद्धमा सिद्धार्थ गौतमले दरबार छाडेका कथाहरू छन्, क्रिस्चियनमा सुलीमा चढाइएका सन्दर्भहरू छन् । यसको साटो यदि धर्म सुखबाट उत्पत्ति भएको भए अझ राम्रो हुन्थ्यो कि ?
हो, यो एउटा यस्तो प्रश्न भैदियो, जसले भण्डारी सरसँगको संगत बाक्लो बनाइदियो । उहाँले त्यतिबेला दिनुभएको जवाफ अहिले पूरापूर सम्झनामा छैन, तर त्यसपछि उहाँले मेरा लागि आफूसँगको सान्निध्यताको ढोका खोली दिनुभयो । र, यो सान्निध्यता अझ–अझ गहिरिँदै र बाक्लिँदै गयो ।
यसै पनि हामी त्यतिबेला ‘सुरुचि’ साप्ताहिकमा मीनाक्षीका नाममा उहाँले लेखेका लेखहरूका फ्यान छँदै थियौं । एकदमै प्रेमिल सम्बोधन मीनाक्षीलाई, तर विचरण समाज, राजनीति, जीवन–जगत्का विशाल र गहिरा समुद्रहरूमा । अद्भुत लेखनशैली थियो, भण्डारी सरको । चिन्तन र तर्कलाई सरल रूपमा राख्ने । निकै उदारतापूर्वक राख्ने ।
प्रेम र यौनका बारेमा उहाँका लेखन पढेर वा युवतीहरूसँग अलि बढी निकट हुने उहाँको व्यवहारलाई लिएर कतिपय मान्छेहरू ठान्थे, ‘भण्डारी सर अलि छाडा हुनुहुन्छ । प्रेम र प्रणयमा अलि बढी रमाउनुहुन्छ आदि ।’
हामी पनि त्यसै ठान्थ्यौं । र, युवतीका नाम राखेर पाठक पत्रहरू पठाउँथ्यौं । हामीले सिर्जना गरेका नक्कली पाठक– युवतीहरूलाई उहाँ जवाफ फर्काउनुहुन्थ्यो । हामी पुलकित हुन्थ्यौं । ती शर्मिष्ठा वा शीला थिएनन् । अहिले स्वीकार गर्नैपर्छ– ती हामी नै थियौं ।
अहिले भन्नैपर्ने भएको छ— भण्डारी सर माफ गर्नुहोला, हामी कच्चा थियौँ ।
हामी ठान्थ्यौँ— हामीले तपाईंलाई झुक्याइरहेका छौं । खासमा हामी झुक्किरहेका थियौं । तपाईं अक्सर भन्ने गर्नुहुन्थ्यो, ‘नेपाली समाज ढोंगी छ, सोचेभन्दा बढी ढोंगी... !’
हो, हामी पनि त्यस्तै थियौं । अझै पनि त्यस्तै छौं । पशुपतिका नागा बाबाका लिंग वा टुँडालका चित्रहरू हेरर उत्तेजित हुने तर तिनैका बारे कुरा गर्न डर मान्ने वा तिनका भाव र गहिराइहरूमा पुग्न नसक्ने हाम्रो चरित्र उस्तै छ— विरोधाभासले भरिएको ।
तर, तपाईं त्यहाँभन्दा माथि हुनुहुन्थ्यो भण्डारी सर । तपाईंमा जस्तो विराट बुझाइ हामी बिचराहरूसँग कहाँ थियो र सर ? तपाईंको सौन्दर्यचेत र जीवनका खास रङरूपहरूलाई हेर्ने तपार्इंको सोचलाई हामीले मदालसा, शर्मिष्ठा वा शीलासँगका हल्काफुल्का प्रेमका रूपमा बुझेका थियौं ।
‘सुरुचि’ साप्ताहिकमा भण्डारी सरका लेख पढेर उद्वेलित हुने हामी संयोगले पछि आफैँ उहाँका लेखहरू लिन घरमा जाने ठाउँमा पुग्यौं । ‘हिमालय टाइम्स’ मा आबद्ध रहँदा मित्र देवेन्द्र भट्टराई र म अक्सर साताको एकपटक लेख लिन उहाँको घरमा जान्थ्यौं । त्यो लर्कोमा यदाकदा थानेश्वर सापकोटा, शीला सैंजूहरू पनि जोडिन्थे । हाम्रो काम हुन्थ्यो— उहाँले किरिमिर लेखेको लेख पढेर उहाँलाई सुनाउने वा उहाँले बोल्ने अनि हामीले टिप्ने ।
देवेन्द्र र मैले यो काम कैंयौं महिनासम्म गरिरह्यौं ।
हाम्रो सम्बन्ध बाक्लिँदो थियो । कहिले मृगस्थलीतिर, कहिले पुरानो बानेश्वरको पुस्तक पसलतिर– हामी भण्डारी सरसँगै हुन्थ्यौं ।

त्यसैताका उर्मिला मातोडकर, आमिर खान, जैकी श्राफ अभिनीत एउटा चलचित्र आयो– रंगीला । रामगोपाल बर्माको यो फिल्ममा एआर रहमानको म्युजिक थियो, जसमा उर्मिलाका उत्तेजक नृत्य र भावभंगिमा थिए । यो २०५२ सालको असोज अन्तिम साता हुनुपर्छ, देवेन्द्र र मैले सल्लाह गर्‍यौं— भण्डारी सरलाई ‘रंगीला’ फिल्म हेर्न लिएर जानेबारे । सरलाई अनुरोध गर्‍यौं । सहजै अनुमति पायौं । र, गयौं विश्वज्योति हलमा । अहिलेजस्तो टिकट लिन सजिलो थिएन । त्यसमाथि उर्मिलाको उत्तेजक नृत्यको युवा क्रेज । मुस्किलले टिकट लिइयो । सर बीचमा, म र देवेन्द्र दायाँ–बायाँ ।
एउटा प्रोफेसरलाई बीचमा राखेर हामी उर्मिलाका उत्तेजक नृत्य हेरिरहेका थियौं । सर हामीसँग भएभन्दा बढी रंगीला र उर्मिलामा रमाइरहनुभएको थियो ।
जसै फिल्म सकेर हामी हलबाहिर निस्केर मण्डला बुक्सतिर लाग्यौं, बाटैमा अभि सुवेदी, एमपी लोहनी, माधवलाल महर्जन सरहरू भेटिनुभयो । अभि सरले विनयी स्वरमा नमस्कारको अभिवादनसँगै सोध्नुभयो, ‘सर, यी केटाहरूसँग कता हिंड्नुभएको र ?’
डीपी सर, बडो स्वादिलो लयमा हाँस्नुभयो सुरुमा । अनि विश्वज्योतितिर इसारा गर्दै भन्नुभयो– ‘ए, रंगीला हेर्न आएको थिएँ । ३/४ जना केटीले हत्ते गरेर ल्याए, मजै आयो... रमाइलो रैछ ।’ अनि फेरि डीपी सर हाँस्नुभयो, राम्रैगरी ।
एक छिन अरू अर्थ–अनर्थका केही कुरा भए, बाटोमा उभिएरै । अनि हामी मण्डलातिर छिर्‍यौं ।
यो एकदमै प्रश्नातीत घटना थियो, हाम्रा लागि । हिजो मात्रै, फिल्म हेर्न जाने अफर म र देवेन्द्रले गरेका हौं । बाल्कोनीको टिकट ‘ब्ल्याक’ मा किनेर देवेन्द्रले ल्याएको छ । हलभित्र फ्रुटी, केक ख्वाउँदै डीपी सरलाई हाम्रा बीचैमा राखेर ‘रंगीला’ हेराएका छौं । अब कहाँबाट आए एकाएक यी केटीहरू ?
ट्याक्सीमा जमलबाट पुरानो बानेश्वर डीपी सरका घरतिर फर्कंदै गरेका बेला देवेन्द्रले जिज्ञासा राख्यो, ‘सर, यो त हामीमाथि सरासर अन्याय भयो नि ! सारा गर्ने हामी, सरलाई उर्मिला देखाउने हामी । अनि नामचैं केटीहरूको ?’
ट्याक्सीको अघिल्लो सिटमा बस्नुभएका डीपी सरले आफ्नो सनातनी ‘मु लवज’ निकाल्दै टाउको पछाडि फर्काउनुभयो र, रमाइलो मानिरहेको स्वरमा भन्नुभयो, ‘तिमीहरूलाई के थाहा छ ? तिमेरु अज्ञानी नै छौ । अब यसरी रंगीला हेर्न केटीहरूले ल्याएका थिए, केटीहरूका बीचमा बसेर हेरें भनेपछि यी बूढाहरू भित्रभित्रै जलिरहन्छन्... हेर्दै जाऊ न ! रातभर सुत्नै सक्दैनन् अब... हाहाहा !’

म आज पछाडि फर्किएर सोच्छु— यो तहको प्रोफेसर आज कोही होला नेपालमा, जो जीवनलाई त्यसका रङहरूमा भोग्छ, बिनाढोंग, बिनाघमण्ड, बिनातथाकथित सामाजिक भय !
भण्डारी सरले उर्मिलाको उत्तेजक नृत्य र तिघ्रामाथि पछि एउटा लेख नै लेख्नुभयो– ‘रंगीलाकी उर्मिला र सेक्सी जनमानस’ शीर्षकमा । त्यसमा सम्झेसम्मको सार थियो, ‘प्रिय, नेपाली मानस सेक्सग्रस्त छ, विरोधमा ग्रस्त छ, समर्थनमा पनि ग्रस्त । त्यसैले रंगीला यति लोकप्रिय भयो । निर्देशकले त्यहाँ सेक्स नभए पनि सेक्स भन्ने भ्रान्ति दिन सकेको छ । यहाँ सेक्सको अर्थ हुन्छ, नायक–नायिकाको हाउभाउबाट, स्पर्श, नृत्य आदिबाट द्रवित हुने, श्रावित हुने र मनमा दुई–तीन दिनसम्म गुदगुदी, टिटिलेसन आइरहने । जतिजति ३–४ स्वास्नीका स्वामी लामो टुपी पालेका, तीनधर्के टीका लगाएका, भागवतवाचन गर्ने, लामो पूजापाठ गर्ने पण्डित पुरोहितहरूदेखि लिएर समाजका अन्य पाखण्डी राजनीतिज्ञ र स्कुल शिक्षकसम्म सक्दो निन्दा गर्नेछन्, त्यति नै यहाँका युवायुवतीहरू, प्रौढहरू, पोर्नोग्राफी मन पराउनेछन् । रंगीला हेर्ने त उनीहरूको अधिकारभित्रै आउँछ, समाज स्वीकृत अधिकार । कुनै बेला जब काठमाडौंमा भीड थिएन, धूवाँ थिएन, गाडीहरू एकदमै कम थिए, स्वतन्त्र रूपले सडकमा विचरण गर्दागर्दै अभिसाररत साँढे र गाई देखेर यहाँका फुर्सदवाला नगरवासीहरू सिट्ठी बजाउँथे, आज रंगीला हेरेर सिट्ठी बजाउँछन् ।’

अनि, कतिपय लेखहरूमा भण्डारी सर आफ्नी प्रेमिकाहरूलाई डोलीमा चढाउनुहुन्थ्यो र, हामीलाई डोलेहरूका रूपमा चित्रण गर्नुहुन्थ्यो । भण्डारी सरका यस्ता लेखहरू पढ्न युवायुवतीहरू हुरुक्क हुन्थे ।
सरका लेखहरूमा तिघ्रा वा वक्षस्थलका कुरा मात्र हुँदैनथे, त्यहाँ लोभ, मोह, काम, क्रोध, समाज र राजनीति पनि जोडिएको हुन्थ्यो । बुद्धका मन्त्रहरू, कुरान, वेद, उपनिषद्, बाइबल... के हुँदैनथ्यो त्यहाँ ? लेखनमा विम्बहरूको प्रयोग गर्न पनि भण्डारी सर माहिर हुनुहुन्थ्यो । २०५१ सालमा जब तत्कालीन एमालेले अल्पमतको सरकार बनायो, त्यतिबेला उहाँले एउटा लामो लेख लेख्नुभएको थियो ‘कान्तिपुर’ दैनिकमा, जसको शीर्षक थियो, ‘हेमा मालिनीको गालामा झुसे दाह्री ।’ यो लेख निकै चर्चित भयो, धेरैका मुखमा शीर्षक र गुदी कण्ठस्थ थियो ।
भलै, नेपाली समाज र कतिपय पढे–लेखेका भनाउँदाहरूसमेत डीपी सरका कतीपय व्यंग्यहरू बुझ्ने हैसियत अहिले त राख्दैनन्, त्यतिबेला अझ के राख्थे र ? मलाई सम्झना छ— एकताका पुरानो बानेश्वरस्थित विनोद भट्टराईको घरमा प्रत्येक शनिबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आउने गर्नुहुन्थ्यो, जहाँ सर पनि पुग्नुहुन्थ्यो । जब भण्डारी सर र भट्टराईबीच संवाद र ठट्टा सुरु हुन्थ्यो, तब यस्तो लाग्थ्यो जीवनका सबै रङहरू यहीं छन् ।
भण्डारी सर र कृष्णप्रसाद भट्टराईजस्तो दार्शनिक, आध्यात्मिक र मानवीय चेतको जोडी, जसको ठट्टामा पनि अनन्त गहिराइ हुन्छ, त्यो परिहास र विनोदप्रियता ! त्यस्तो जोडी अब पाउनु कहाँ ?
यसरी भण्डारी सर रङहरूको हिसाब–किताबमा होइन, रङहरूमा बाँच्नुभयो । अझ आफैं रङहरू भएर बाँच्नुभयो ।
एक दिन पुरानो बानेश्वर चोकको एउटा रेस्टुरेन्टमा भण्डारी सर, डा. पुरुषोत्तम बास्कोटा र किशोर नेपालका बीचमा म थिएँ । उहाँहरू मदिरा पिइरहनुभएको थियो । र, संवाद विषयका रूपमा आएकी थिइन्— एउटी युवती । त्यो दिन ५० काटेका ती बूढाहरूका संवाद सुनेर म बालक–बबुरो भएको थिएँ, आफैंसँग लज्जित पनि ।
त्योबेला ती युवतीको रूप र रङमा भण्डारी सर मोहित हुनुहुन्थ्यो । तर, त्यो मोहमा उत्ताउलोपन थिएन । गहिरो सौन्दर्यचेत र मानवीय प्रेम थियो । ती युवतीका साथ हामी यदाकदा भण्डारी सरका घरमा जान्थ्यौँ ।
सर, ती युवतीलाई अलिक बढ्ता माया गरेको देखाउन म र देवेन्द्रलाई अलि भिन्न व्यवहार गरेजस्तो गर्नुहुन्थ्यो । सँगै बसेकी ती युवतीलाई डीपी सरले पाकेका जहाजी केरा ल्याएर ‘ल खाऊ’ भनेर बोक्रा छोडाउँदै दिनुहुन्थ्यो, हामीलाई भने तिहारमा पकाएर रहेका दाउराझैं बनिसकेका एक–एक सेलरोटी हातमा राखिदिनुहुन्थ्यो । त्यो प्रेम, त्यो अपनत्वको के कुरा भयो र ? अनि हामी जिस्क्याउँथ्यौं । यस्ता निजी सन्दर्भहरू कति छन् कति । अझ मैलेभन्दा बढ्ता निजात्मक कुरा देवेन्द्रले देखे–भोगेको छ । देवेन्द्रले चितवनदेखि नगरकोटसम्मका डीपी सरसँगका यात्राबारेका अनेक अन्तरंग बात सुनाएको थियो, डीपी सर छँदै–डीपी सरकै सामुमा ।

सामान्यजनका लागि भण्डारी सर कहिलेकाहीं हल्का रूपमा प्रकट भैदिनुहुन्थ्यो पनि । तर, अहिले बुझ्दा लाग्छ— कहिले कृष्णजस्तो, कहिले रजनीशजस्तो, कहिले खुशवन्त सिंहजस्तो, कहिलो पहाडिया पठ्ठोजस्तो, कहिले बनारसको पण्डाजस्तो । कहिले सुकराजजस्तो, कहिले लाओत्सेजस्तो । एउटा प्रोफेसर, साँच्चिकै प्रोफेसरजस्तो ।
चेतनाले भरिएको र खारिएको एउटा प्रोफेसर, जो शरीरसँग र आफ्नै स्मृतिसँग हार्‍यो र लड्यो ।
हामी तपाईंलाई सम्झिरहनेछौं । र, पखर्नेछौं— हाम्रो समाजमा तपाईंजस्तै चिन्तक, तपाईंजस्तै प्रोफेसर, जो साँच्चिकै प्रोफेसर थियो ।
सर, तपाईंलाई जस्तै स्वर्ग वा नर्कको मलाई पनि विश्वास छैन, भरोसा छैन । तपाई सधैंजसो आफ्ना भाषण वा आलेखमा सम्झना गरिरहनुहुन्थ्यो, कवि खलिल जिब्रानलाई । आज तपाईं बितेर गएपछि म यो दूरोदेशबाट तपाईंको पावरफुल चस्मा, अलिकति उछिट्टिन खोजेका बज्र दाँत र अट्टाहासको मनकारी हाँसो सम्झिरहेको छु । अनि सम्झिरहेको छु, उनै जिब्रानको भनाइ साभारमा, ‘कुनै मान्छेले जीवन कति सुवासपूर्ण सौन्दर्यसित बाँच्यो भन्ने सत्य त्यसबेला थाहा हुन्छ, जब उसको मृत्यु हुन्छ । र, त्यो मृत्युले कतिलाई अश्रुपूर्ण बनायो, कति बिह्वल पार्‍यो भन्नेबाट थाहा हुन्छ ।’
म यतिखेर अश्रुपूर्ण, विह्वल मुद्रामै यी पंक्ति लेखिरहेको छु । हार्दिक श्रद्धाञ्जली छ प्रिय डीपी सर ।

Page 20
कोसेली

म गंगा, पृथ्वीको धमनी

हाम्रो जन्म केही करोड वर्षअघि भएको हो । हाम्रो पुर्ख्यौली कथा पनि निकै रोचक छ । अहिले हामी बग्ने धरातल गोन्डावाना र युरेसियन नामका भूतख्ताहरुबीच रहेको टेथाइस समुद्रमुनि थियो ।
- अजय दीक्षित

दक्षिण एसियामा किन हो कुन्नि म गंगा नदी सभ्यता, मोक्ष, पुण्य र स्वच्छताको पर्याय बनेकी छु । म मात्र होइन, सखी सिन्धु छन्, उता हिमालपारि उद्गम भएर बह्मपुत्र बग्छ, हाम्रा अनगिन्ती भाइबहिनीहरू छन् । हामी सबै सभ्यताका आधार हौँ, बहुउपयोगी छौं, र पवित्र पनि ! सर्वदा अविरल र स्वच्छ बग्दै रहने विश्वास थियो हामी सबैको ।
हिजोआज हाम्रो यो विश्वास डगमगाउन थालेको छ । यसरी नै तपाईको मान्छेहरूले हाम्रा जलाधार र हामीमाथि हस्तक्षेप गरिरहने हो भने हाम्रो अस्तित्व छिट्टै संकटमा पर्नेछ । जलवायु परिवर्तनले वर्षाको चरित्रलाई पारेको प्रभाव हामी नदीहरूमाथि झन् थपिएको छ । हामीहरू, सिमसार एवं समस्त जलको दुरुपयोगलाई रोक्नुहोस्, हामीलाई नास हुन नदिनु होस् । हामी बिन्ती गर्छौं, संरक्षणको यात्रा सुरु गर्नुहोस्, अन्यथा, तपाईहरुकै जीवनमाथि सबभन्दा ठूलो बज्रपात आइपर्नेछ ।

भूतख्ताका घर्षण, अवतरण र यात्रा
हाम्रो जन्म केही करोड वर्षअघि भएको हो । हाम्रो पुर्ख्यौली कथा पनि निकै रोचक छ । अहिले हामी बग्ने धरातल गोन्डावाना र युरेसियन नामका भूतख्ताहरूबीच रहेको टेथाइस समुद्रमुनि थियो । गोन्डावानाबाट छुट्टिएको भारतीय भूतख्ता युरेसियन भूतख्तासित ठोक्किन आएपछि टेथाइस समुद्र खुम्चियो ।
चेपुवामा परेको जमिनमाथि उठ्न थाले, हिमाल, महाभारत, (शिबालिक) चुरे शृंखला र मैदान बने । सूर्यको तापले बंगाल र अरब समुद्रको पानी बाफ (बादल) बनेपछि मनसुनी हावा र पश्चिमी वायु, वर्षा र हिमपातका सिलसिला सुरु भए । वायुले बाफलाई आकाशमा पुर्‍याए, जलचक्र स्थापित भयो ।
हामीहरू हिमाल, महाभारत, चुरे, बिन्ध्या पर्वतमाला एवं मैदानी भू–भाग हुँदै, बग्दै बंगाल र अरब समुद्रमा पुग्यौं । हामी नदी मात्र नभएर सम्यता पनि हौं । हाम्रा किनाराहरूमा सभ्यता विकास भए, अझै छन्, भविष्यमा पनि रहिरहनुपर्नेछ ।
भागीरथी, मन्दाकिनी, अलकनन्दा, यमुना, महाकाली, कर्णाली, सरयू, गोमती, मोहना, राप्ती, गण्डकी, वाग्मती, कमला, कोसी अनि कन्काई (महानन्दा) मेरा बहिनीहरू हुन् । नेपालबाट
बग्ने महाकाली, कर्णाली र बबई भारतमा पुग्दा नाम बदलिएर क्रमशः शारदा, घाघरा र सरयू बोलाइन्छन् ।
हामी त नदी थियौं । लिंग, जात केही थिएन । तर, तपाईहरुले हामीमध्ये कसैलाई केटा त कसैलाई केटी बनाइदिनुभएको छ । यति मात्रै होइन, एउटै नदीलाई कतै केटा त कतै केटीको नाम दिनुभएको छ । कैलाश पर्वतको पश्चिमी मोहडामा उद्गम भई पाकिस्तानमा बग्ने सखी सिन्धुलाई उपल्लो भेगतिर शेर दर्या (सिंह नदी), आब्बासिन (नदीहरूका पिता) को नामले पनि बोलाइन्छ (अलबिना, ए., २००५, द इम्पायर्स अफ द इन्डस्, द स्टोरी अफ अ रिभर) ।
भाइहरू रबी, ब्यास, सतलज, झेलम र चेनाव भारत र पाकिस्तानबाट आएर सखी सिन्धुमा मिल्छन् । सिन्धु अरब सागरमा विलय हुन्छिन् । कैलाश पर्वतबाट निस्केको यार्लुंगसाङ्पो आसाममा बह्मपुत्र हुन्छ भने बंगलादेशमा पुगेपछि जमुना, कतै भाइ त कतै बहिनी । नारायणी भारतमा गण्डक हुन्छिन् ।
भूगोलले पनि हामी बग्ने स्वरूपलाई निर्धारण गरिदिएको छ । झारखण्डको राजमहल काटेपछि म गंगा स्वयं दुई धारमा बाँडिएकी छु– पद्मा र हुग्ली भन्छन् मलाई । दामोदर र रूपनारायण हुग्लीका भाइहरू हुन् । पूर्वी बंगालतर्फ (बंगलादेश) लागेपछि पद्मालाई पद्दाको नामले पनि बोलाइन्छ ।
मेघालय र बंगलादेशबाट आएकी बहिनी मेघना पद्मामा समाहित हुन्छिन् । मेघना र बह्मपुत्रलाई बोक्दै पद्मा बंगालको खाडीतर्फ लाग्छिन् । बहिनी पद्मा र हुग्ली अनगिन्ती धारहरूमा विभाजित भई सुन्दर–वन हुँदै बंगालको खाडीमा विलय हुन्छिन् ।
म, मेरी सखी र भाइबहिनीहरूको फैलावट क्षेत्र हाल विश्व जनसंख्याको करिब १५ प्रतिशत मान्छेको बासस्थान हो । मौसमअनुसार, हाम्रो व्यबहार पनि बदलिने गर्छ । वर्षायाममा हामी अलि आक्रामक हुन्छौं । भल–बाढीका साथमा प्रशस्त ढुंगा, बालुवा र माटो ओसार्छौं, मैदानी भेगमा लगेर थुपार्छौं ।
पहाडहरू कोतरेर हामीले धरातलमा माटो ल्याउने गरेका हौं । वर्षायाममा माटो त के, उस्तै परे सानासाना पहाडै गर्‍यामगुरुम सोहोरेर ल्याउनु हाम्रो जन्मजात चरित्र हो । हामीले माटो नथुपारे खेत मलिलो रहन सक्दैन । अझ मिहिन माटो बगाएर समुद्रमा पुर्‍याउँछौं ।

जलविज्ञान, साहित्य र त्रिवेणी
विज्ञानका अनुसार, हाइड्रोजनका दुई र अक्सिजनको एक परमाणु मिलेर हाम्रा आधार पानीको अणु बनेको हो । अमेरिकी विज्ञान र प्रविधि काउन्सिलका अनुसार, ‘जलविज्ञानले पृथ्वीका पानीहरू, तिनका उपलब्धता र वितरण, तिनका रासायनिक र भौतिक गुण, तिनको पर्यावरणलगायत समस्त प्राणी जगत्सितको सम्बन्ध व्याख्या गर्छ ।’
पौराणिक ग्रन्थले जलविज्ञानको मर्मलाई समेटेको छ । एउटा व्याख्या भन्छ, सूर्यको तातोले आकाशमा पुगेको पानी, बादल बनी वर्षामा परिणत हुन्छ, नदी, पोखरी र समुद्रमा सञ्चित हुन्छ । हामीबारेका बुझाइ खालखालका भए पनि व्याख्यामा निर्मल जलचक्रको मान्यताले मेल खान्छ ।
एकथरी मानिस मलाई असाध्यै माया गर्छन् । दक्षिण एसियाका धेरै बसिन्दाले मलाई माता (आमा, माई) भन्दै पूजा गर्छन्, उनीहरूले १०७ नाम दिएका छन् (शिव, २००२, वाटर वार्स), श्रद्धाले गंगाजी भन्छन् । अंग्रेजी भाषीहरूले मलाई ‘ग्यान्गेज’ भनी बोलाउँछन्, सायद गंगाजीको अपभ्रंस हो । इडन बगैंचाका चारमध्ये एक ‘पिसन’ नदीसँग मलाई जोडिएको छ (सिंह आर, १९९२, द गंगाज) ।
म मेरा बहिनी, भाइहरूले कवि र गायक परिकल्पनामा महत्त्वपूर्ण स्थान पाएका छौं । पूर्वी बंगाल (बंगलादेश) मा पद्मा र बहिनी धारहरूमा डुंगा–यात्रा गर्दै रवीन्द्रनाथ टेगोरले गीताञ्जली सिर्जना गर्ने प्रेरणा पाए । कवि शिरोमणि लेखनाथ पौड्यालले रचेका छन् ः ‘गंगामा भुक्ति मुक्ति दुई दिदीबहिनी नित्य खेल्छन् कपर्दी ।’
भुपेन हजारीकाले गाएका छन् : 
‘हे, गंगा तु वहेती हे क्यों ?’
हिन्दु धर्मावलम्बीहरूले स्नान गर्दा वाचन गर्ने श्लोकमा सिन्धु, यमुना, सरस्वती, विन्ध्या शृंखलापारिका गोदावरी, नर्मदा, काबेरी र मसहित हामी सात दिदीबहिनी समेटिएका छौं ।
गंगे च यमुने चैव गोदावरी सरस्वती ।
नर्मदे सिन्धु कावेरी जलेद्रस्मिन् सन्निधिं कुरु ।।
अर्थात्
हे पवित्र नदीहरू, मैले स्नान गर्ने पानीमा उपस्थित हुनुहोस् ।
तर, मलाई एउटा कुराले सधैं अचम्मित पार्छ— श्लोकमा अरू भाइबहिनीहरू किन छैनन् । ब्रह्मपुत्र पनि छैन । मेघदूतका रचयिता महाकवि कालीदासले ‘पृथ्वीको नाडी’ मानेका हिमालय पर्वतमालालाई (सिंह आर, १९९२, द गंगाज) कैलाश पर्वतदेखि पूर्व, उत्तर र दक्षिण तीन तीरबाट घेरेका छौं । जलको आदर गर्ने श्लोकलाई त्यसबेलाको ‘नदी–गान’ भन्दा
कसो होला ?
हामी भाइबहिनीको मेलले तीर्थस्थल जन्माउँछ, जहाँ मान्छेले त्रिवेणीको परिकल्पना गर्छन् । मान्छेको कल्पनामा मात्र जीवित बहिनी सरस्वती इलाहावादमा म (गंगा) र यमुनासित भूमिगत बाटो हुादै मिल्न आउँछिन् । सखी सिन्धु र बहिनी यमुनाको बीचबाट बगेर अरब सागरमा पुग्ने घग्गर नदी नै सरस्वती हुन् भनेर मान्नेहरू पनि छन् (सन्याल एस २०१५, द इन्क्रिेडिब हिस्ट्री अफ इन्डियाज जियोग्राफी) । बहिनी सरस्वती सुकेकी छन्, बग्दिनन् ।
हरेक १२ वर्षमा इलाहावाद त्रिवेणीमा लाग्ने कुम्भमेलामा आस्थाका करोडौं पुजारीहरूसहित अनगिन्ती मानिस भेला हुन्छन् । उता नेपालको धनकुटाको तल्लो फाँट बहिनी सुनकोसी, भाई तमोर र अरुणको त्रिवेणी हो । भाइ अरुण तिब्बतबाट हिमाली शृंखला छिचोल्दै नेपालभित्र बग्छ । त्रिवेणीबाट पहाड काटेर कोसी चतरा आइपुग्छिन्, नेपाल हुँदै, विहारको कुरुसेलामा आएर
मसित मिल्छिन् ।
यस क्षेत्रका बसिन्दाहरूको भविष्य हाम्रा जलाधारहरूका सन्तुलन र स्वच्छतामा टिकेको हुँदा तिनको रेखदेख गर्नु धेरै बुद्धिमानी बाटो हो । संरक्षणका गोरेटा खन्न तपार्इंर् मान्छेहरूले नयाँ कल्पनासहित प्राकृतिक विज्ञान, सामाजिक विज्ञान र लोकविद्या मिलाएर पूर्ण ज्ञान सिर्जना गर्न सके सबैको भलो हुने थियो ।

वेलगाम दोहन, प्रदूषण र ह्रास
तपाईहरुले आफ्ना सीमितता र प्रकृतिको भूमिका तथा देनलाई लेखाजोखा गर्न बिर्सनुभएको छ । प्रकृतिमा अन्तरनिहित भएर समाज र हामी जीवित छौं भन्ने वास्तविकता बिर्सेर, प्रकृति भर्सेस विकासको तर्क तपाईहरुले स्वीकार गर्नुभयो । प्रकृति र जैविक विविधताको व्यापक विनाशले आज तपाईहरुलाई नै तर्साइरहेछ ।
तपाईहरुकै भाषामा भन्ने गरेको राज्यलगायत बजारले सोचेअनुरूप उपयोग नभएका हामी नदीहरू खेर गएका हुन भन्ने तर्क थाल्नुभयो । सन् १९०० पछि संयुक्त राज्य अमेरिकामा त अझ सुरिएर हामी नदीको सबै पानीको गन्तब्य सिँचाइ, बिजुली उत्पादन र उद्योग मात्रै हो भन्ने नीति लागू गरे ।
यो नीतिले उनीहरूलाई केही फाइदा त दियो तर तल्लो भेग, त्यहाँ बस्ने मानव समुदाय, हामी दिदीबहिनी र भाइहरूको बग्ने अधिकार, हामीमा आश्रित तर बोल्न नसक्ने प्राणीहरू एवं जलचर (माछा, डल्फिन, गोहीका प्रजाति) का आवश्यकता र चासोलाई बेवास्ता गर्न थाले । यही दृष्टिकोणले यस क्षेत्रको जलयात्रा पनि डोरिन थाल्यो ।
हाम्रा पिँध र किनाराबाट तपाईहरु जथाभावी ढुंगा र बालुवा निकाल्ने गर्नुहुन्छ । तपाईहरुको घर र पूर्वाधार निर्माणका लागि सिमेन्ट जडान गर्न यी आवश्यक छन् तर तपार्इंर्हंरू तातै खाऊ जलि मरौं जसरी असन्तुलित उत्खनन गर्न लाग्नुभएको छ । अरू त छाडौं घर निर्माण गर्ने वैकल्पिक सामग्रीको खोजीसम्म पनि सुरु गर्नु नै भएको छैन ।
बेलाबेला जथाभावी उत्खनन गर्नुहुन्न भन्नु त हुन्छ तर राज्यको नियमन संयन्त्रलाई भताभुंग पार्नुभएको छ । आफ्ना गुटका सदस्य मात्रले फाइदा लिने, राज्यको स्रोतमा कब्जा जमाउने नियत अवलम्बन गर्नुभएको छ । अनियन्त्रित दोहनका गतिविधि दिनदहाडै भइरहेका छन् (निटी फाउन्डेसन, २०१९, नेपालल्स क्लेप्टोक्राटिक नेटवर्क) ।
आवश्यक परेरै होला तपाईहरुले थुप्रै संरचना निर्माण गर्नुभएको छ, तपार्इंर्हंरूका संगठन र विज्ञहरूसित यसो गर्ने क्षमता छ । प्रविधि खरिद गर्न पाइन्छ, राज्यशक्ति पनि सहयोगी छ । तर, जलको उचित संरक्षण गर्न सक्नुभएको छैन न त गुणस्तरीय खाने पानी आपूर्तिको उचित प्रबन्ध । विपन्न परिवार एवं महिलाहरूले खानेपानी र सरसफाइको अभावमा भोग्ने पीडालाई तात्त्विक रूपले कम गर्नुभएको छैन । जल प्रदूषण निरन्तर छ । जसले हाम्रो रूप र गति नै हेरिनसक्नु भइसक्यो ।
हामीले नदीहरूको मात्रै होइन, भू–जलको बेलगाम दोहन गर्नु हुन्छ ? ठूलाठूला पम्प प्रयोग गरेर, वर्षाले भर्न नसक्ने गहिरा भू–जलाशयबाट पानी तान्नु हुन्छ, व्यापारिक खेती र सहरी क्षेत्रमा विलासिताका लागि प्रयोगमा लगाउनु हुन्छ ?
हामीले हाम्रा किनारमा सामाजिक र सांस्कृतिक जग निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्यौं । कसैलाई विभेद नगरी जलचक्रका धागासरह हामी निरन्तर बगिरह्यौं, भविष्यमा पनि बिनाविभेद निरन्तर रहन चाहन्छौं । साँच्चै भन्दा तपाईहरुको जस्तो हाम्रो भाषामा विभेद भन्ने मान्यता र शब्दै छैन ।
तर तपाईहरुले राजनीतिक तथा सामाजिक सिमाना र बन्देज निर्माण गर्दै हाम्रो लय बिथोल्नुभयो । पानीको प्रयोगमा विभेद र सीमान्तीकरण सुरु गर्नुभयो । समाजमा ठूलो बोलवाला भएकाहरूले सरकारी नीतिलाई आफ्नो हितमा सजिलै बंग्याउन सक्ने परिपाटी बसाल्नुभयो । यो विभेद समाजमा झनझन जकडिन थालेको छ ।
नदी, ताल तलैया, भू–जल र वर्षाको खण्डित लेखाजोखा गर्दै प्रशासनिक हैकमको जलविकास बाटो स्थापित गर्नुभएको छ । तपाईहरुका सिँचाइ, जलविद्युत्, खानेपानी, व्यवस्थापन गर्ने राज्यका संगठनहरू एकअर्कासित समन्बय नगरी आ–आफ्नो ढंगले काम गर्छन् ।
तपाईहरुमध्ये कोही राज्यले सकेन, भन्दै एकांकी बजारको शरणमा पुगी नदी र जलनिधिको पूर्ण निजीकरणको वकालत गर्नुहुन्छ । केही जलसेवा आपूर्तिमा बजार संलग्न छ, तर बजारको नियमन गर्नुहुन्न । हामी नदी तपाईहरुको सिर्जना होइनौं । हावा, पानी र माटो निर्माण गर्ने क्षमता तपाईहरुमा छैन भन्ने हेक्का अझै पलाएको छैन ।
पोखरी, कुण्ड, तालतलैया र सिमसारमा बुल्डोजर दगुराउनुहुन्छ, मास्नुहुन्छ । चौरहरू देख्यो कि कंक्रिटले ढाकी हाल्नुहुन्छ । भू–जल भरिन पाउँदैन, जलचक्र खण्डित हुन्छ हामी नदीहरू ह्रास हुन्छौं भन्ने सोच्नुहुन्न, न त विपन्नहरू अन्यायमा पर्छन् भन्ने वास्तविकता ।
प्रकृतिसँग प्रेमसहित बातचित गर्ने सच्चा मानव आत्माहरूले सुरु गरेका जल संरक्षणसम्बन्धी केही स्थानीय सत्प्रयास पनि छन् तर यतिले हाम्रो खस्कँदो यात्रा रोकिएको छैन । हामी बग्ने बाटाहरूलाई जानीजानी हडपेर साँघुरो पार्नुभएको छ । तपाईहरुका सहरहरू अव्यवस्थित, कुरूप र प्रदूषित छन्, ढकमक्क हरियालीबिनाका छन्, बासिन्दामैत्री छैनन् ।
जल आपूर्ति संकटमा परेको सहरमै केही समयपछि विकराल बाढीका घटना निरन्तर हुन थालेका छन् । हाँडीघोप्टे पानी परेपछि जब हामी गडगडाउँदै बग्छौं, तपाईहरु संकट भोग्नुहुन्छ, हामीलाई सराप्नुहुन्छ,– ऐया र आत्था गर्दै । तर केही दिनपछि सबै बिर्सनुहुन्छ । जल–सुशासन स्थापित गर्न तपार्इंर्हंरू चुक्नुभएको छ । धेरै के भनौं र, हामीमाथि गरिने अन्याय अन्तिममा गएर मानव जातिको हितमा छैन है ।

जल–विवेक, निर्मलता र स्वच्छता
वर्तमान जलसंकटका एउटा कारण हो, खण्डित जलचक्र अपनाइएको (स्विकारिएको) दृष्टिकोण र विधि । समुद्र र बादलको बीचमा रहेर हामी जमिन, जंगल, समुदाय, प्रयोगहरू, आस्था र सभ्यतालाई जीवन्त राख्छौं ।
हामी नदीहरू पृथ्वीका धमनी हौं, खेर गएका होइन, र जाँदैनौँ पनि, बग्नु हाम्रो धर्म हो । हामी अनवरत स्वच्छ रहनुपर्छ । कुम्भमेलामा आउने बहुसंख्यक मान्छे पवित्र जल र नदीका मान्यताले प्रेरित भएका हुन्, अन्यथा होइन । दुर्भाग्य, यो मान्यता तपाईहरुका क्रियाकलापमा देखिँदैन ।
अत्याचारको पनि एउटा सीमा हुन्छ । तपाईहरु त आफ्ना मलमूत्र सोझै हाम्रा शरीरमा मिल्काउनुहुन्छ, बगाइहाल्छन् भन्ने अल्पदृष्टि राख्नुहुन्छ । प्राकृतिक पानी घर–घरमा ल्याउनुहुन्छ, बाथरुममा विष्टासित फ्लस गर्नुहुन्छ । सफा पानीमा बिष्टा मिसाउने संस्कारको विडम्बनाले खै तपाईहरुलाई कहाँ पुर्‍याउँछ कुन्नि ?
पानीले ढल बगाउने संस्कार तपाईहरुले तत्काल बदल्न सक्ने आशा त हामीले गरेका छैनौं । तैपनि, ढलचक्र र जलचक्र भिन्दाभिन्दै रहने विधि त सुरु गरे हुन्थ्यो नि । प्रशोधन नगरेको ढल जलचक्रमा नमिसाउन सामूहिक वाचा गरेर अघि बढेदिए कम्तीमा पनि चित्त बुझाउने ठाउँ त रहने थियो ।
अब हामी तपार्इंर् ंमान्छेलाई केही आह्वान गर्छौं । जल र नदी संरक्षणलाई नयाँ यज्ञको रूपमा अगाडि लैजानुहोस् । के, कसरी र कस्ता विधि छान्ने भन्ने प्रश्नका जवाफ खोज्ने दायित्व तपाईहरुको हो । प्राकृतिक विज्ञानले तपाईहरुलाई के, कति भन्ने प्रश्नको जवाफ दिन्छ, न्याय र शासन पद्धतिका लागि सामाजिक विज्ञान आबश्यक छ, लोकविद्याले स्थानविशेष समुदायका मान्यतालाई अपनत्व दिन्छ ।
एक्ला हिसाबले तिनका प्रयोग अपुरा छन् । प्राकृतिक विज्ञान, सामाजिक विज्ञान र लोकविद्याको सम्मिलन गर्नुहोस् । संयोजित विधिलाई पवित्र जलको मान्यताको जलप लगाउनुहोस् । विवेकको आधार ज्ञान, ज्ञानको सूचना र सूचनाको आधार तथ्यांक हो । हिजोआज तथ्यांकको बाढी आएसरह छ, त्यसलाई विवेक बनाउन तपाईहरुको अथक मिहिनेत जरुरी छ ।
जल–विवेकबाट निर्देशित भई यस्तो शासन पद्धति सुरु गर्नुहोस् जसले तपाईहरुको आवश्यकता परिपूर्तिका साथै हामी नदी पनि निरन्तर स्वच्छ बग्न सक्ने पारोस्, हाम्रा डगमगाएको विश्वास उकास्ने काम गरोस् ! हामी सबै स्वच्छ र अविरल रहने संस्कृति जल संकट समाधानको सहयोगीे छ ।
त्यस्तो संस्कृतिका लागि हामीहरूले नयाँ नदी–गान बनाउने निधो गर्‍यौँ । जसका लागि हामीले भेला बोलायौं । मैले अगुवाइ गरेको एउटा छलफलमा जल अध्येता अजय दीक्षितलाई बोलाएर भन्यौं, ‘हामी सबै नदीको संरक्षित र साझा भविष्यबारे एउटा ‘नयाँ बृहत् कल्पना’ तयार गर ।’ तिनले तत्काल एउटा खेस्रा तयार पारेर सुनाए, तर त्यति छन्द मिलेको थिएन ।
उनले शिक्षक टीकाराम शर्माको सहयोग लिएछन् । त्यसपछि सुनाएको नदी–गानले हामी दंग पर्‍यौं । गानले हालको नेपाल, भारत, तिब्बत (चीन), बंगलादेश, दक्षिण–भारत, पाकिस्तान, हिमाल, महाभारत, चुरे र विन्ध्या शृंखलातिरका प्रतिनिधि चौधवटा नदीलाई समेटेको छ । हामीले सहर्ष मञ्जुरी दियौं । त्यो नयाा नदी–गान सुन्नुहोस् है तः

‘गंगा, मेघना र भाई ब्रह्मपुत्रहरू,
महाकाली र कर्णाली, नारायणी, कौशिकीहरू ।
अविरल बहेका छन् वाग्मती, कमलासरी,
बेतवा, रोहिणी, सिन्धु, नर्मदा जलसुन्दरी ।
गोदावरी नदीजस्ता स्वच्छ यी जलसम्पदा,
प्रेम र आदरले हामी, सम्झन्छौं गर्वले सदा ।’’

हामी आशा गर्छौ, तपाईहरु मानिसहरूले नदी, पोखरी, कुण्ड, ताल, सिमसार र भूजलको सन्तुलित प्रयोग गर्नुहुनेछ । त्यसो भयो भने हाम्रो विश्वास छ तपाईको सन्तान–दरसन्तानले जल संकट भोग्नुपर्ने छैन, कञ्चन बग्दै गरेका मेरा दिदीबहिनी र भाइहरूलाई हेर्न, अनुभव गर्न र आनन्द लिन पाउनेछन् । तपार्इंर्हंरूको शरीरभित्र पनि दुई तिहाइ पानी नै छ नि । सत्य यही हो–पानीबिना जीवन सम्भव छैन ।
आगे तपाईहरुकै विचार !

कोसेली

अ ड्याम प्रोफेसर !

सम्झना
- केदारभक्त माथेमा

अंग्रेजीमा भनिन्छ– गिभ अ ड्याम !
भन्नुपर्ने कुरा भन्ने हो, लेख्ने हो । यही कारणले कसैले नराम्रो सम्झिएला, गलत बुझ्ला वा आफ्नो हित नहोला भन्ने कहिल्यै सम्झिराखेको हुन्न । नेपालीमा भनिन्छ नि– बाल मतलब ।
भण्डारी सर त्यही ‘गिभ अ ड्याम प्रोफेसर’ हो ।
यदाकदा भण्डारी सरको कुरा बुझ्न पनि गाह्रो हुन्छ । ठाडो अर्थ नभेटिने, गहिरो र गम्भीर । शब्दहरू खाँदिएर बस्छन्, बोलिसकेपछि अथवा भण्डारी सर बोलेर बाटा लागिसकेपछि मात्रै थाहा लाग्छ— ए, बूढाले यसो पो भनेको रहेछ ।
भण्डारी सर ‘घर चलाउने’ मान्छे होइन, दिमागी मात्रै हो । फ्रेन्च क्रिटिक मोलियर भन्छन्, ‘एज फर माई लिभिङ, माई सर्भेन्ट क्यान डु इट... ।’ जीवन निर्वाह मात्रैको कुनै मतलबै छैन ।
यस्ता केही मान्छे हुन्छन् जो समाजसँग, यहाँको चलनचल्तीसँग ‘फिट’ रहन्न, हुन्न । आफ्नै लयमा बहिरहने स्वभाव होला यो । म सम्झन्छु— म आफैं एकताका दिनरात ढोका थुनेर उपन्यास, कथा, कविताहरू पढिरहन्थेँ । कहिले अंग्रेजी र कहिले फ्रेन्च मूलका अनूदितहरू । साँझपख टहल्न निस्कँदा बाटोघाटोमा आफूले पढेको उपन्यासको पात्र भेटेजस्तो, उसैसँग कुरा रहिरहेजस्तो बोध हुन्थ्यो । बढी दिमागी सक्रियताको परिणाम होला । भण्डारी सर भने सधैंसधैं यही हालतमा हुनुहुन्थ्यो कि ?
यस्ता केही नमिल्दा पात्र हुन्छन् नै यो समाजमा । मेरो क्लास–फेलो हो, श्रीधर लोहनी । भण्डारी सरको निकटतम मित्र पनि । अब म त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएँ, संसारका सबै चिनारुले फोन गरेर बधाई भनिसके । श्रीधरलाई बाल मतलब । यो ‘इग्नोर’ गरेको पनि होइन, यो स्वभाव हो । श्रीधर, भण्डारी, रामेश्वर अधिकारी भनेका यस्तै दुर्लभ मान्छे हुन् । कमलप्रकाश मल्ल पनि त्यस्तै अर्कै लयमा हिँड्ने प्रोफेसर हो । विशुद्ध एकेडेमिक भनेको साधारण मानिस हुँदै होइन, यसलाई यही रूपमा बुझ्नुपर्छ । छुस्स दाह्री पलाएको छ, सर्ट–पेन्ट पनि रफटफ छ । कुनै औपचारिकता छैन । पुरानो झोला र जुत्तामा हिँडिरहेकै छ । संसारको के मतलब ? प्राज्ञहरू हुनुपर्ने यस्तै हो । कृतिगत रूपमा मैले ‘मृगस्थली’ लगायतका भण्डारी सरका किताब पढेको हुँ । भण्डारी सरले एकपटक गोथे इन्स्टिच्युटमा ‘इन्टेलेक्च्युवल्स इन नेपाल’ शीर्षकमा प्रवचन दिनुभएको थियो– कसलाई बौद्धिक भन्ने, विद्वान्को अर्थ के हो भन्नेबारे । त्यसमा नेपाली विद्वान्को
सन्दर्भ, अखबारी पठन वा सतही ज्ञानका भरमा विद्वता झल्काउन खोज्नेलाई भण्डारी सरले तिखो प्रहार गर्नुभएको थियो । पछि उहाँले लेख्नु पनि भयो— अखबारी बुद्धिजीवी भनेर ।
हो पनि । ‘पब्लिक इन्टेलेक्चुअल’ अर्थात् कहीं कुनै विषयमा लगातार सूचनायुक्त प्रवचन दिने विद्वान् र विद्वतायुक्त विद्वान्बीचमा फरक हुन्छ नै । डा. श्रीधरले कतै मञ्चमा बसेर भाषण गरेको सुनिन्छ र ? बरु मजस्ता साधारण र धेरै ‘पब्लिक इन्टेलेक्च्युअल’ ले कराइरहने हो, बोलिरहने हो । भण्डारी, लोहनीहरूलाई यी साधारण विषयमा मतलब रहन्न । सामान्य सूचना र विद्वता फरक कुरा हो । यसरी भण्डारी सरलाई ‘अराजक बुद्धिजीवी’ पनि भन्न मिल्छ । कुनै नियम, दायरा र घेरामा बाँध्नै नहुने प्राणी हुन् भण्डारीहरू । यो अराजक भनेको ‘रिबेल’ हो, विद्रोही स्वभावसमेत हो । जनसाधारणले हेर्दा मजस्ता मान्छेलाई सफल भन्ठान्छन्, तर यो क्षणिक कुरा हो । विद्वता, विचार र चिन्तनमा भण्डारी, श्रीधरहरू अर्कै लोकमा छन्, तिनको उचाइ अतुलनीय छ । म त्रिविमा उपकुलपति भएका बेला श्रीधर लोहनीलाई मानविकी संकायको डिन बनाउन मैंले कैयौंपटक चाकडी गर्नुपर्‍यो, अनेक बिन्तीभाउ गरेर मात्रै उनी डिन बने । त्यो पनि ससर्त, ‘तिमीले (उपकुलपति) पद छाड्नुभन्दा ३ दिनअघि डिनबाट हट्नेछु’ भनेर । भयो पनि त्यस्तै । यस्ता केही विद्वान् बढीजसो समाज, परिवार सबैतिर ‘लोन्लिनेस’ (एक्लोपना) बाट गुज्रिएका हुन् कि ? हामीहरू बरु बढी घुलमिलमा छौं, सामाजिक अर्थमा सम्पर्कमा हुन्छौं । बौद्धिकता, चिन्तन र विचारको तहमा (समानस्तर) कुरा नमिलेपछिको ‘लोन्लिनेस’ बाट भण्डारी सरहरू गुज्रिनुपरेको हो कि जस्तो लाग्छ । बाहिरी समाजको कुरा नगरौं— घरभित्रै पनि श्रीमतीहरू बढी ‘सांसारिक’ हुन्छन्, श्रीमान् सधैं अव्यावहारिक र असांसारिक भैदिएको अवस्थामा के हुन्छ ? सन् १९६८ मा त्रिचन्द्रमा अस्थायी लेक्चरर थिएँ । आईए तहमा पढाउने काम गर्थेँ । म युवा जोसको थिएँ, लोकप्रिय पनि थिएँ । त्यही बेला भण्डारी सर स्थायी लेक्चररको नियुक्तिपत्र लिएर त्रिचन्द्र आउनुभएको थियो । उहाँ कलेज अफ एजुकेसनबाट आउनुभएको थियो । अनि मेरो जागिर खुस्किहाल्यो । त्यहाँ हरि भट्टराई पनि थिए, आईएस्सी पढ्ने । उनकै नेतृत्वमा नारा लाग्न सुरु भैहाल्यो— इन्क्लाब जिन्दावाद ! माथेमा नै चाहिन्छ !!
अनि भण्डारी सरसँग पहिलोपटक मेरो भेटवार्ता भएको थियो । ‘केदारजी, केटाहरूलाई सम्झाइदिनुपर्‍यो’ भन्दै सरले मसँग कुरा थालेपछि मैले ‘यसरी स्थायी शिक्षकको विरोध नगर्न र पढाइमा बस्न’ केटाहरूलाई सम्झाएको थिएँ । त्यसबेला डीपी सरको ‘क्रेज’ बनिसकेको थिएन । पछि गएर उही डीपी सर भन्नासाथै एउटा ‘मानक’ बन्नुभयो । अनि कीर्तिपुर क्यान्टिनमा कुरा चल्थ्यो, ‘आज डीपी बूढाले कक्षामा यस्तो भने नि... !’ रत्नपार्क–कीर्तिपुर बसमा उभिएका विद्यार्थीमाझ गाइँगुइँ हुन्थ्यो, ‘बूढाले रोमान्टिसिजम यसरी बुझाए नि... !’
हो, यस्तो स्वर चाहिन्छ, सबैले सुन्ने स्वर । सबैमाझ सुनिने स्वर । भण्डारी थिए, मल्ल थिए, लोहनी थिए विश्वविद्यालयमा । उनीहरू आवाज थिए । आज को छ, के छ ? यो एकेडेमिक थलोमा मुर्दा शान्ति छाएको छ । म यो त्यसै भनिरहेको छैन ।
(प्राध्यापक माथेमासँगको कुराकानीमा आधारित) 

Page 21
कोसेली

सेतो इन्द्रेणी

आमा
- कान्तिपुर संवाददाता

मैले २१ वर्षपछि धेरै हिम्मत जुटाएर आमालाई सोधें, ‘तपाईंलाई बाबाको याद आउँदैन ?’
आमा केही बोल्नुभएन । मतिर हेर्नुभयो अनि मुसुक्क हाँस्दै भन्नुभयो, ‘आउँछ, किन नआउनू !’
मुस्कानका साथ सुरु भएका शब्दले भुइँ टेक्न नपाउँदै आमाका आँखा भरिए । सोधें, ‘बाबाले छोडेर गएपछि आफूलाई कसरी सम्हाल्नुभयो ?’
आमा केही बोल्नुभएन । सायद ती अँध्यारा दिनहरू कोट्याइदिएँ । मैले आमा रोएको निकै कम देखेकी छु । उहाँ सित्ती रुनुहुन्न । अथवा रोएको देखाउनुहुन्न । अझ बुबाको सम्झनामा आमाले आँसु बगाएको हामीलाई याद छैन । हुन त रुनु मात्र कसैलाई सम्झनु होइन । दुःख सामना गर्ने सबैका आफ्नै तरिका हुन्छन् । कोही रोएर आफ्नो दुःख मेटाउँछन्, कोही मनमा गाँठो पारेर बाँचिरहन्छन् । आमा सायद ‘दोस्रो वर्ग’ मा पर्नुहुन्छ ।
आमा बरु बाबाले गर्ने उट्पट्याङ कुराहरू सम्झेर हाँस्नुहुन्छ । बुवाले जिस्क्याएका कुराहरू सम्झेर
मुसुमुसु गर्नुहुन्छ ।
मेरी आमा ३२ वर्षको हुँदा बाबा ब्रेन ह्यामरेज भएर बित्नुभयो । म ९ वर्षकी थिएँ । बाबा बितेपछि मेरी आमाको इन्द्रेणीबाट रङहरू हराउँदै गए । बाबाले आफूसँगै आमाका सबै रङ लिएर उडिदिनुभयो, कतै अन्तहीन यात्रामा । रातो रङ असाध्यै मन पराउने मेरी आमा बाँचुन्जेल सेतो रङमा बन्द हुनुभयो । उज्यालो देखिने सेतो रङ त्यसपछि सधैं अँध्यारो देखियो ।
असारको त्यो रात झमझम पानी परिरह्यो । आमा रातभर निदाउन सक्नुभएन । अलिअलि आँखा लागेजस्तो हुन्थ्यो, फेरि झसंग हुनुहुन्थ्यो । बाबा रातभर घर फर्किनुभएको थिएन । मोबाइल थिएन, अफिसमा फोन गर्दा उठेन । चिन्तैचिन्ताले हामी गलिसकेका थियौं ।
भोलिपल्ट बिहान घरमा फोन आएपछि थाहा भयो— बाबालाई राति कसैले पाटन अस्पतालमा भर्ना गरिदिएको रहेछ । मलाई अझै राम्रोसँग याद छ त्यो दिन । असार १५ को दिन धुम्म परेर निरन्तर झरी परिरहेको थियो । अहिले लाग्छ— त्यो दिन उदासीमा रोइरहेको थियो ।
फोन आउनेबित्तिकै आमा र काका अस्पताल जान आत्तिनुभयो । आमालाई त्यो दिन मैले धेरै राम्री देखें । असाध्यै राम्री । हत्तपत्त ट्याक्सी नचढ्ने आमाले ट्याक्सी रोक्नुभयो । म बिहान ८ बजे नै स्कुल जान लागेकी थिएँ । आमालाई बाटोबाट ‘बाई बाई’ भनें ।
त्यो दिन मेरो स्कुलमा केही विशेष कार्यक्रम थियो । कार्यक्रम सानो होस् या ठूलो– बाबा सधैं मेरो स्कुल आउनुहुन्थ्यो । मैले गाएको गीत सुन्नुहुन्थ्यो, मेरो नाच हेर्नुहुन्थ्यो । मेरा लागि खुसी हुँदै ताली पिट्नुहुन्थ्यो । म दंग पर्थें । मेरो लागि संसारको सबैभन्दा ठूलो खुसी त्यही थियो । तर, त्यो दिन बाबा आउनुभएन । मञ्चमा म नाचिरहेकी थिएँ तर मेरा आँखा दर्शकदीर्घामा नाचिरहेका थिए । मैले बाबालाई देखिनँ । मलाई स्कुलका कार्यक्रमहरू कहिल्यै त्यति लामा लाग्दैनथे । कहिल्यै नसकियोस्जस्तो हुन्थ्यो । तर, त्यो दिन मलाई घर पुग्ने हुटहुटीले घेर्‍यो । कापी, कलमसँगै अनुहारमा रङ पुरस्कार लिएर म दौडिएँ । घर पुगेपछि थाहा भयो— बाबाको अझै होस आएको रहेनछ ।
हजुरआमाले भन्नुभयो, ‘बिहान दहीचिउरा खान बिर्सिस् । आज खानुपर्छ । खा ।’
‘बाबाको के खबर आयो ?’
‘बेलुकासम्म होस आउला ।’
हजुरआमाले आशा देखाउनुभयो । अब मलाई बेलुकाको पर्खाइ थियो । मैले दहीचिउरा खाएँ । पुरस्कार टेबलमा राखें र ऐना हेर्दै रमाएँ । मैले सोचेकी थिएँ— बेलुका बाबाआमा आउनुहुन्छ अनि म दिनभरिको कहानी सुनाउँछु । पुरस्कार देखाउँछु । बाबाले फेरि लामो आलाप लिएर नारायणगोपालको गीत गाउनुहुनेछ अनि आमा ‘ह्या कस्ता–कस्ता गीत सुनाउने हो बच्चाहरूलाई’
भन्दै चिढिनुहुनेछ ।
बेलाबेला फोनको घण्टी बज्थ्यो, झसंग हुन्थें । हरेक पटकका घण्टीले हाम्रो मुटुको गति बढाउँथे ।
राति ८ बजे बल्ल फोन आयो । बाबाले संसार छोड्नुभएछ । म र दिदी आत्तिएर रुन थाल्यौं । त्यो खबर सुन्नेबित्तिकै हजुरआमा बेहोसजस्तै हुनुभयो । हजुरआमाले न हामीलाई सम्हाल्न सक्नुभयो न आफूलाई । हजुरबा अल्जाइमर्स पीडित भएकाले एकोहोरो हुनुहुन्थ्यो । दुई वर्षको भाइ मस्त निदाइरहेको थियो ।
त्यो रात आएको फोनले हाम्रो जिन्दगीबाट मुटु चुँडेर लग्यो । मृत्युसँग त्यति नजिकबाट साक्षात्कार भएको त्यो पहिलो दिन थियो ।
जिउँदाका जन्ती र मर्दाका मलामी– छिमेकी सायद त्यसैले चाहिन्छन् । एकै छिनमा गाउँभरिका मानिस भेला भए । हजुरआमालाई सम्झाउन थाले । दिदी र म एक–अर्कालाई अँगालो हालेर रोइरह्यौं ।
त्यो रात न आकाशबाट झरी बर्सिन रोकियो न हाम्रा आँखाबाट आँसु । आकाश र हामी सँगसँगै रोइरह्यौं । न आकाश झरेर सकियो न हामी रोएर सुस्तायौं ।
जो आउँथे भन्थे, ‘यिनीहरू बिचरा टुहुरा भए !’
‘टुहुरा’ शब्दले शरीरका हरेक अंग निचोरिए । आँसुले मेरो अनुहारको रङ बगायो । इन्द्रेणीजस्तो मेरो अनुहार छिनमै जमेको तलाउजस्तो भयो । बारीमा मकैका पात बजिरहेका थिए । आज पनि जब पानी पर्छ र मकैका पात बज्छन्, मलाई त्यही दिनको झरीले भिजाउँछ ।
त्यसपछि घरका सामान सार्न थालियो । किरिया बस्ने ठाउँ बनाइयो । भाइ सानै भएकाले र हजुरबुबा धेरै वृद्ध भएकाले पशुपतिबाट एक जना बाजेलाई किरियापुत्री ल्याइएको थियो । कुर्ने मान्छेका लागि ओछ्याउन दरी र टाट चाहिन्छ भनेर त्यही कोठाबाट लगेछन्, जहाँ बाबाको हार्मोनियम थियो, जहाँ एकै छिन अघि म कल्पनाको संसारमा डुलिरहेकी थिएँ ।
बाबाको हार्मोनियम नजिक गएँ र थिचें । एउटा धुन बज्यो । त्यो धुन मुट छेडेर आँखाबाट निस्कियो ।
‘ए, को हो त्यो, मान्छे मर्‍या घरमा बाजा बजाउने ?’
तलबाट चर्को आवाज आयो । म तर्सिएँ । तर्सिंदा हातबाट खसेका रंगीन पेन्सिल टिपेर फुस्रो ढोकाको कुनामा लुकें । जोडसँग मुख बन्द गरें । मुख मात्रै बन्द भयो, आँखा भएनन् । बगिरहे ।
तल केही मान्छे कराएको आवाज आयो । आमा आउनुभयो होला ! हतारहतार गएर हेरें । बिहान रातो साडीमा घर छोडेकी आमा सेतो धोती र परालको चप्पलमा आउनुभयो । उहाँको स्वरूप देखेर मेरो मुटु त्यही परालजस्तै त्यान्द्रै त्यान्द्रामा चुँडियो ।
अघि हार्मोनियमको आवाजमा कराउने व्यक्ति फेरि सुरबिनाको हार्मोनियमझैं फत्फताए, ‘कति रोइरहेका ? मर्ने मरेर गइसके ।’
मैले पहिलोपटक ढुंगाको मुटु बोकेर हिँड्ने मान्छे देखें । मलाई टुहुरो हुनुको पहिलो बोध थियो त्यो ।
म आमालाई अँगाल्न चाहन्थें । आमालाई बोलाउन चाहन्थें । आफू रुन र उहाँलाई रुवाउन चाहन्थें । तर, १३ दिनसम्म आमालाई ‘छुनु हुँदैन’ भनेर मलाई आमाबाट अछूत बनाइदिए । अहिले आएर लाग्छ— हाम्रा संस्कारहरू कति निर्दयी छन् !
मैले २१ वर्षपछि कुरा खोतलें । आमाले त्यस दिनका कुरा बताउन थाल्नुभयो, ‘म अस्पताल पुग्दा आईसीयूमा राखिएको थियो । मैले हेर्न सकिनँ । त्यतिबेला मन कति आत्तिएको थियो । तर पनि केही हुँदैन, होस आएपछि ठीक हुन्छजस्तो लागेको थियो । सास फेरेजस्तो लाग्थ्यो । बोल्न खोज्नुभएको जस्तो लाग्थ्यो ।’
एक छिनपछि डाक्टर आएर आमालाई भनेछन्, ‘उहाँको होस आयो भने पनि पूरै जिन्दगी बोल्न सक्नुहुन्न । हिँडडुल पनि गर्न सक्नुहुन्न । होस आएन भने बचाउन सकिँदैन ।’
यो बताइरहँदा आमाका आँखाबाट बरर आँसु बगे । म महसुस मात्र गर्न सक्छु— त्यतिबेला अस्पतालमा आमाको मन कति चिसिएको होला !
‘अरूलाई लाग्थ्यो होला– जिउँदो लास हुनुभन्दा मरेकै बेस् । तर, मलाई जसरी भए पनि गुमाउनु थिएन । मृत्यु त कसले चाहन्छ र !’ आमा रोकिँदै–रोकिँदै एक्कासि भक्कानिनुभयो ।
आमाले चाहेजस्तो भएन । ढुंगाजस्तो भए पनि श्रीमान् बाँचे हुन्थ्यो भन्ने कामना गरेकी आमाको पुकार ‘भगवान’ ले सुनेनन् । मान्छेले आफ्नो इच्छाअनुसार अमूक ‘भगवान्’ त बनायो तर आँखामा पट्टी र कानमा कपास कोचिदियो ।
आमाले अस्पतालको स्मृति सुनाइरहँदा मेरा आँखा भिजिसकेका थिए ।
‘मैले कसैलाई सम्झिइनँ । मेरो दिमाग खालीजस्तै भयो । त्यसपछि के–के भयो । अरूले जे–जे भने, मैले खुरुखुरु गरें । एउटा मूर्तिजस्तो भएर बसिरहें । चुरा फुटाइदिए । सिन्दूर पुछिदिए । यो लुगा फेर भने, फेरें । मलाई संसारमा केही नै छैनजस्तो भयो । सबै बिरानो लाग्यो । एकदम रित्तो ।’
आमासँग मेरो धेरै कुरामा झगडा पर्छ । उहाँलाई धेरै कुरा सरल लाग्छ । केही कुरालाई गम्भीरताका साथ लिनुहुन्न । सबै कुरा सजिलै अपनाउन सक्नुहुन्छ । तर, उहाँको यो लडाइँ सजिलो थिएन । बुवा गएपछि आमाका संघर्षका दिन बल्ल सुरु भएका थिए ।
‘अब यिनीहरू टुहुरा भए’ भन्ने वाक्य त्यसपछिका दिनमा मैले हरेक क्षण भोग्न थालें । आमा डिप्रेसनमा धकेलिनुभयो । एक्लै रुने, एक्लै बस्ने, एक्लै बोल्ने गर्न थाल्नुभयो ।
सबैले भन्थे, ‘अब आमा पनि यस्तै भए छोराछोरीको के हालत होला ?’
हामी आमाको मनबाट दुःख हटाउन जे गर्न पनि तयार थियौं । तर, हामी सबै बालखै थियौं । त्यतिबेला डिप्रेसनलाई कसैले बुझेका थिएनन् । त्यो केवल एउटा पागलपन थियो, अरूका लागि ।
बिस्तारै बुबाको स्मृति धमलिँदै गयो अरूको मनबाट । तर, हाम्रो परिवार ‘मुभ अन’ हुनै सकेन । एक्लोपन, वियोग र जिम्मेवारीको बोझले आमालाई निल्नसम्म निल्यो । मनभरि रुन पनि पाउनुभएन ।
फेरि हाम्रो संस्कृति र संस्कारले त्यो पीडालाई कम हुन दिएन । हाम्रा कतिपय संस्कारहरू निर्मम छन् । बाबा बित्दा आमालाई माइतीको एकदम जरुरत थियो । एउटा महिलाले आफ्नो सर्वस्व गुमाउँदा उसलाई आफ्नो मान्छेको काँध चाहिन्छ । बाबा बित्दा दाजुभाइ, भदा, माइती आदि हेर्नु हुँदैन, जानु हुँदैन भनेर रोक लगाइयो । न माइतीबाट कोही भेट्न आए न आमा
जान पाउनुभयो ।
आफ्नो माया गर्ने दाइले ‘नानी हामी छौं तिम्रो साथमा’ भनेर अँगालिदिएको भए आमालाई कति ढाडस मिल्थ्यो होला ! तर, छुने त परैको कुरा– आमालाई दाइभाइ, भदा कसैको अनुहार र बोली सुन्न हुन्न भन्ने कुरीतिले बाँधियो ।
माइत मात्र गएर बस्न पाएको भए आमा मानसिक रूपमा बलियी हुनुहुन्थ्यो होला ! आफन्तको काँधले आमाको लत्रिएको संसार कति बलियो गरी उभिन्थ्यो होला ! तर, त्यसो भएन । आमा एक्लै हुनुभयो । एक्लै पछारिनुभयो । एक्लै बजारिनुभयो । एक्लै दर्फरिनुभयो ।
तर, फेरि आफैं उठ्नुभयो पनि । आफूलाई बिस्तारै समय दिनुभयो । बालबच्चाका लागि बाँच्नुपर्छ भन्ने बोध भयो । दिनहरू बिते । दुईपटक मृत्युलाई जितेर अहिले बाँच्न सक्नुभयो । हामीलाई बुबाआमा दुवैको माया दिनुभयो । दुई दशक लामो लडाइँ एक्लै लड्नुभयो ।
र, जित्नुभयो ।
केही महिनाअघि मात्र मेरो नाता पर्ने ठूलीआमा बित्नुभयो । पेट दुखेर अस्पताल पुगेकी ठूलीआमा उतैबाट अन्तहीन यात्रामा निस्किनुभयो । ठूलोबुबा र भाइ एक्ला भए ।
ठूलोबुवा ५७ वर्षको हुनुहुन्छ । अस्ति भर्खर उहाँ घरमा आउँदा मैले गहिरोसँग नियालेकी थिएँ । उदास र टोलाएका आँखा । फुंग रङ उडेको कान्तिविहीन अनुहार । उहाँलाई देख्दा लाग्थ्यो– गहिरो शोकमा हुनुहुन्छ ।
तर, ठूलीआमा बितेको दुई महिना पनि पूरा नहुँदै उहाँ विवाह गर्न केटी खोज्दै हुनुहुन्छ भन्ने खबर सुनेर म एक छिन शून्य भएँ । यो खबरले मेरो शरीरमा भयंकर ठूलो करेन्ट हान्यो । नातेदार, आफन्ती र इष्टमित्र सबै उहाँका लागि वधू खोज्दै हिँडेको सुनेपछि मैले आमाको अनुहार हेरें । उहाँले चुपचाप मलाई हेर्नुभयो ।
हुन त सबैलाई आफ्नो जिन्दगी बाँच्ने पूरा अधिकार छ । कोही न कोही सहारा चाहिन्छ पनि । तर, ठूलीआमाको सट्टा ठूलोबुवा बितेका भए ? कसैले ‘ऊ अब एक्लै भई’ भन्दै विवाहको चाँजोपाँजो मिलाउँथ्यो होला ? उनलाई सेतो धोती र परालको चप्पल थमाउँथ्यो ।
उनको सप्तरंगी जीवनबाट हरेक रङ खोसेर कतै गाडिदिन्थ्यो होला ।
मेरी एक जना माइजू धेरै राम्री हुनुहुन्छ । बैंसमा उहाँको निकै चर्चा चल्ने गर्थ्यो रे ! तर, विवाहको केही वर्षपछि मामा बित्नुभयो । उहाँहरूकी एउटा छोरी छन् । अहिले १५ वर्षकी भइन् । मामा स्वर्गबास हुँदा माइजू २८ वर्षकी मात्र हुनुहुन्थ्यो । अहिलेकी मजत्रै ।
परिवारमा कसैले भनेछन्, ‘उसले बिहे गर्छु भनी भने बिहे गरिदिन्छौं ।’
तर, माइजू केही बोल्नुभएनछ । पछि पनि कहिल्यै विवाहबारे केही भन्नुभएनछ । परिवारले त्यति भन्नु पनि ठूलो कुरा हो । तर, ‘गर्ने भए गर’ भन्नु र ‘गर्न मन भए हामी खोजिदिन्छौं, गरिदिन्छौं’ भन्नु र नभन्नुमा केही त फरक होला ।
माइजूले अर्को बिहे गर्न इच्छा देखाउनुभएन । वा भन्न सक्नुभएन । कसैले यस्तो पनि भनेछन्, ‘कहाँ बिहे गर्नु अब ? छोरीको मुख हेरेर बस्नुपर्छ । नत्र छोरीको के हुन्छ ?’
सोच्छु— माइजूको ठाउँमा मामा भएका भए ?
परिवार, आफन्तहरू ‘जीवन बर्बाद हुन्छ’ भन्दै केटी खोज्न लाग्थे । बुढेसकालमा दुःख पाउँछ भन्दै इष्टमित्र छटपटिन्थे । विवाहको तयारी हुन्थ्यो । दुई महिना या दुई वर्ष मात्रको कुरा हो । गहिरो प्रेम थियो भने पाँचै वर्ष । तर, पुरुषहरू यत्तिकै एक्लो बसेको प्रायः देख्दिनँ । नेपालमा त्यस्ता कैयौं उदाहरण छन् । चलेका सेलिब्रिटी, लेखकको जीवन सबैलाई थाहै छ । जति प्रेम होस्, श्रीमतीका बारेमा किताबै किन नलेखियोस्— पुरुषले एक दिन अवश्य दोस्रो बिहे गर्छ । यसमा केही गलत देख्नु हुँदैन । कसैको साथ खोज्नुमा केही अपराध छैन ।
तर, यही सुविधा महिलालाई किन छैन ? किन उसको पति मर्दा ऊ जहाँ पनि रुँदै हिँडोस् भनेर आस गरिन्छ ? अभिनेत्री श्वेता खड्का शोकमा रुँदै हिँड्दा सारा देश उनीप्रति करुणादायी देखियो । तर, केही समयपछि बितेका अर्का सेलिब्रिटीकी श्रीमती हाँस्दै हिँड्दा आलोचना खेप्नुपर्‍यो ।
पति मरेको केही दिन या महिनामै हाँसेको या रमाएको देखियो भने मान्छेहरू भन्छन्–
– कस्ती आइमाई रहिछ, एक थोपो आँसु छैन !
– लोग्ने मरेको वर्ष दिन भएको छैन, यस्तो छ ताल !
– पक्कै अरूसँग सल्केको हुनुपर्छ !
तर, पुरुष रमाउँदा वा हाँस्दा तिनै मान्छे भन्छन्–
– केटा मान्छे भएर पनि रुँदै हिँडोस् त बिचरा !
– अझै यत्रो जीवन बाँकी छ, किन दुःखी हुनु नि !
– केटा भन्या केटै हो नि । केटालाई जे गरे
पनि सुहाउँछ !
ती मामालाई पक्कै परिवारले दोस्रो विवाहका लागि दबाब दिन्थे होलान् तर माइजूलाई दिएनन् । ‘सहारा चाहिन्छ’ भन्दै ५७ वर्षका बूढालाई बिहे गराउन तम्सिने समाज २८ वर्षे माइजूका पक्षमा किन केही बोल्दैन ?
मेरै नाता पर्ने एक जना भाउजूले गत वर्ष आत्महत्या गर्नुभयो । कारण कसैलाई थाहा छैन । मानिसहरू भन्छन्— उहाँ डिप्रेस्ड हुनुहुन्थ्यो । ‘औषधि खान्थी’ भन्दै कुरा काट्ने पनि भेटिए ।
‘दुई वर्षको छोरा छोडेर मर्न सक्ने कस्तो अपराधी ?’ धेरैले यसै भने ।
त्यो घटनाको दुई महिना नबित्दै दाइको विवाह गरिदिन सबै नातेदार लागिपरे । यो लेखिरहँदा वधू फेला परिसकेकी छैनन् । प्रयास अझै जारी छ ।
मेरी आमा र मेरो सोचाइ, बुझाइ, भोगाइमा ठूलो अन्तर छ । पुस्तान्तरले हो या फरक व्यक्तित्वका कारण । आमाले जे भोग्नुभयो, जे देख्नुभयो र जे बाँच्नुभयो— सोच त्यसरी नै विकास भएको छ । उहाँ भगवान्लाई पूजा गरेर आनन्द महसुस गर्नुहुन्छ । म उहाँका लागि फूल र धूप ल्याइदिएर आनन्द महसुस गर्छु ।
आमा कहिलेकाहीँ भगवान्सँग एक्लै बोलिरहँदा केही प्रश्न गर्दिनँ, बरु जिस्क्याउँछु । आमा कृष्ण र रामको पूजा गर्नुहुन्छ तर मलाई राम र कृष्णहरूसँग समस्या छन् । यो कुरामा पनि हाम्रो धेरै बहस हुन्छ ।
कृष्ण कमजोर प्रेमी थिए । प्रेमको अलाप गर्दै सारा जगत्लाई आफ्नो भक्त बनाउने उनी राधाका अपराधी हुन् । उनी ‘दिलफेक आशिक’ थिए । जहाँ जो भेट्टियो, उसैसँग सल्किने । हाम्रो समाज पनि कस्तो ! सोह्र हजार आठ श्रीमती ल्याउनेको पूजा गर्छ तर सच्चा प्रेमी राधाको कतै केही आदर गर्दैन । पूजा राधाको हुनुपर्थ्यो । तर, भगवान् बनाउनेहरू पनि पितृसत्ताको चरम भोगी छन् । त्यसैले राधालाई सधैं कृष्णको छेउमा उभ्याइन्छ ।
राम कृष्णभन्दा अलि राम्रा हुन् तर सीतामाथि उनले पनि अन्याय गरे । अग्निपरीक्षा र अयोध्या फर्केपछि उनलाई त्याग गर्न पितृसत्ताले दिएका दबाबका विरुद्ध उनी लडेनन् । द्रौपदी, कुन्तीहरूका कथा सबैलाई थाहै छ ।
मैले आमालाई धेरैपटक सोधेकी छु, ‘तपाईंले किन फेरि बिहे गर्नुभएन ?’
‘के–के बोल्छे, चुप लाग्’ भन्दै उहाँ रिसाउनुहुन्थ्यो । तर, अहिले हाँस्दै भन्नुहुन्छ, ‘मैले बिहे गरेको भए तिमीहरूको हालत कस्तो हुन्थ्यो ? अहिलेसम्म बाँच्थिस् तँ ?’
‘हाम्रो किन सोच्ने त ? आफ्नो सोच्नुपर्थ्यो नि, यति स्मार्ट मान्छे !’
‘भोलिपर्सि छोराछोरी पाएपछि थाहा पाउलिस्– कति सजिलो, कति गाह्रो हुन्छ,’ आमा तर्किनुहुन्छ ।
‘बाबा रहेर तपाईं नभएको भए ?’ म प्रतिप्रश्न गर्छु ।
आमा लामो सुस्केरा हाल्दै भन्नुहुन्छ, ‘तेरो बाउले त बिहे गरिहाल्थे होला अर्को । तिमीहरूको झन्
बिजोग हुन्थ्यो ।’
आमाहरू धरती हुन् । पिताहरू आकाश हुन् । आकाश बदलिरहन्छ । कहिले दिन, कहिले रात । कहिले उज्यालो, कहिले अँध्यारो । कहिले धुम्म । कहिले खुला ।
आकाश असीम छ । जीवनका लागि चाहिने ऊर्जा दिन्छ । तर, सिञ्चित गर्ने त धरती हुन् । आकाश जति परिवर्तनशील भए पनि एकनास रहने धरती हुन् । हुर्काउने, बढाउने र फैलाउने । त्यही धरती टेकेर सपनाको संसारमा हामफाल्छौं हामी ।
र, समय आइसक्यो हामीले पनि धरतीबारे सोच्ने । सेतो धरतीबारे सोच्ने !
@RisalShiksha

कोसेली

भाइरल खेलौना

कविता
- केशव सिलवाल

जब रित्तो हुन्छ मानिसको हात
समाउादैनन् तिनले तास मात्र
खेल्दैनन् तिनले लङ्गुर–बुर्जा मात्र

जब रित्तो हुन्छ मानिसको हात
घुसारिनका लागि खोज्दैनन् तिनले गहिरो खल्ती मात्र
न त बस्छन् केवल ताली बजाएर

कम्तीमा होस् एउटा क्याडबरी वा ललिपप
मानिसको हातमा
चुस्दै रहून्
र भुलून् स्वादको जगत्मा

या होस् तिनको हातमा
एउटा जब्बर खेलौना
व्यस्त रहून् अम्मली खेलमा

सोचून् खेलकै बारेमा
लडून् एकआपसमा
पब्जी खेल्दै
पछारेर एकअर्कालाई टच स्क्रिनमा
सिध्याऊन् प्रतिरोधका सारा नङ्ग्रा

आफ्नो मधुमय फोटोमा
भर्च्युल ब्युटी प्लस थपेर
आफौ परुन् दङ्गदास

संवाद गरुन् फट्टिचर प्रेमीसाग
भकुल्ले फिगरको
भद्दा लुगाको
विवाह एनिभर्सरी
र जन्मदिनको
बस्, नलागून् शासकका विरूद्ध

फत्ते गर्न विरोधको औपचारिकता
लेखून् भाइरल स्टाटस स्क्रिनमा
लेख लेखून् अनलाइनमा
र गरुन् थुप्रैपटक सेयर

खाली हातमा झन्डा हल्लाउादै
नआऊन् सडकमा
समाउादै नसमाऊन् प्रतिरोधी हतियार
(शासकलाई मात्र हुन्छ हतियारको हक)
नहुर्‍याऊन् दरबारतर्फ चिच्याउादै ढुङ्गा र इाटाका टुक्रा

पढिरहून् केही सस्ता उपन्यास अनलाइनमै
हेरुन् सस्ता पोर्नोग्राफी
जनावर बनून् ती
र सकुशल रहोस् शासकको स्वर्ग

हेर्न पाऊन् छिनभरमै
बिछोडिएर टाढा पुगेका आफन्तको मुहार
नभनून् फर्किएर आइज
केही गराौला देशमै
बेचिए पनि परदेशमा
माया गर्दै रहून् देशको झन्डालाई

जब खाली राखिन्छ मानिसको हात
तिनले खोज्दैनन् बेरिन मात्र एक अंगालो प्रेम
न त मायाले मुसार्न मात्रै खोज्छन् अर्को हात

हातहातमा होस्
एउटा ललिपप
या एउटा खेलौना ?

बस्, व्यस्त रहून् मानिस
सोच्न नसकून केही
गर्दै रहून् घर र कार्यस्थल
कार्यस्थल र घर ।

Page 22
कोसेली

नियतका खोटीहरू

हिंसा
- सविता विमली

मोबाइल भर्खरभर्खर सुलभ हुन थालेको थियो । नेपाल टेलिकमको नम्बर लिन निकै लामो लाइन पार गरेर ठेलमठेल गर्नुपरिरहेको थियो । साथीहरूको हातमा मोबाइल आइसकेको थियो । सम्भवतः उनीहरूकै नामको नम्बर हुँदो हो । मैले केही ढिलो गरी नम्बर पाएँ । भीडमा नउभिई हातमा परेको मोबाइल नम्बर अरूकै नामको थियो । कति त आफ्नो नाममा थुप्रै सिम लिएर बढी पैसामा बेच्नेहरू पनि थिए । रु. ११७५ टेलिकमले तोकेकै शुल्कमा हातमा परेको थियो प्रिपेड नम्बर ।
मोबाइल सहज सम्पर्कका लागि सहायक त बन्यो नै । सँगसँगै यसमा अपरिचित नम्बरबाट अनावश्यक फोन, सन्देश र बेला न कुबेलाको ट्यारट्यार आउने मिस्ड कलले बिस्तारै सकस पनि बढाउँदै थिए । यी सबका कारण दुई साथी बढी तनावमा थिए । तिनमा एउटी विवाहित थिई अर्की अविवाहित ।
बालकैमा आमा–बाबु गुमाएर टुहुरी भएकी उसको एसएलसीलगत्तै विवाह भएको थियो । ऊ जे जति पढ्दै थिई/गर्दै थिई त्यसमा उसका श्रीमान्को शतप्रतिशत सहयोग थियो । एउटै नम्बर थियो श्रीमान्–श्रीमतीको । श्रीमतीका नाममा आएका फोन र म्यासेजले श्रीमान् छक्क परिरहेका थिए– ‘बालकैमा विवाह गरेर ल्याएको यतिका वर्षसम्म केही थिएन, अहिले के हुन लाग्यो यस्तो... !’ भन्दै श्रीमान्ले हालेका सुस्केराले ऊ आत्तिएकी थिई । नम्बर कसको थियो ? मान्छे को हो केही पत्तो थिएन । अर्की साथीलाई त घरबाट निस्किएपिच्छे ‘यस्तो लुगामा यतिखेर कता लागेकी ? मसँग घुम्न हिँड’ भन्ने फोन र म्यासेजले ऊ हैरान थिई । तर, दृश्यमा को हो भन्न सकिने अवस्था थिएन ।
उपाय के छ ? त्यो पनि थाहा थिएन । एउटा कोसिस भने गरियो । विवाहित साथीको नम्बरबाट मैले त्यो अपरिचित नम्बरमा फोन गरें । भनें, ‘मैले तिमीलाई चिनिसकें । तिमी के गर्छौ पनि थाहा पाएँ । तिम्रो सात पुस्ता थाहा पाएकी छु । अब आइन्दा फेरि मेरो नम्बरमा तिम्रो कुनै फोन म्यासेज, मिस्ड कल आयो भने तिमी भएकै ठाउँमा आएर तिम्रो पितृ बुझाउँछु, याद राखेस् ।’ यति भनेर फोन राखेपछि त्यसपर्यन्त उसको नम्बर मेरी साथीको फोनमा देखिएन । बिहान–बेलुका ‘गुड मर्निङ’ र ‘गुड नाइट’, खाना–खाजा र चिया खाने समयमा ‘के खायौ ?’ भन्ने प्रश्नले हैरान भएकी ऊ त्यसपछि यस्ता झन्झटमा परिनँ ।
अर्की साथीको नम्बरबाट त्यसैगरी फोन गर्दा उसले पत्याएन । यो आवाज उसको होइन भन्यो । ऊ उसकै वरिपरिको चिने–जानेकै हो भन्ने थाहा त भयो तर को थियो, हामी अन्धकारमै थियौं । पद्मकन्याको चउरमा बसेर साथीलाई नै फोनमा बोल्न लगाएर ह्यान्डस् फ्री गरी लेख्दै बोल्न लगायौं । लेख्दा हत्केला भरिएपछि हत्त न पत्त कपी निकालेर नोटको बीचमा लेख्यौं । उसले जे भन्छ, जहाँ हिँड भन्छ त्यहीँ जाने भन्दै जवाफ दिन लगायौं । उसको आवाजमा मिसिएको सफलताको उत्कर्ष पनि सुन्यौं र अन्त्यमा उसको पनि सात पुस्ता पत्ता लगाएको र अब खबरदार भनेपछि उसको आवाजको पारो कसरी घट्यो त्यो पनि महसुस गर्‍यौं । यसरी यी दुई फोन काण्ड हाम्रा विद्यार्थी जीवनमा आए र गए ।
यो सब भएको पनि दिव्य बाह्र वर्ष बितेछन् । तर, अब फोनमा अपरिचित नम्बरले त्यति दुःख दिँदैनन् । मानिसलाई ‘फेरि तिमेर्को पितृ बुझाउँछु’ भनिरहन पर्दैन । अहिले त चिनजानकै नम्बर र अनुहारहरू देखिन्छन् मोबाइलको पर्दामा । र, यिनलाई झेल्न त्यति सजिलो भने छैन । तिनका नियतका सातपत्रे उनीहरू आफैं फुकाउँछन् ।
भर्खरै गण्डकी प्रदेशसभाका महिला सांसदहरूले संसद्भित्रै पुरुष सांसदहरूबाटै आफूहरू यौन हिंसामा परेको बताएका छन् । यो समाचार मात्रै हुन्छ कि यसमा थप केही कारबाही पनि हुन्छ, त्यो त हेर्न बाँकी नै छ । यो लेखमा भने त्यस्ता केही घटना उल्लेख गरिएको छ, जुन भोक्ताका लागि आत्मसम्मानमा लागेका असह्य घाउ बनेका छन् र यी भोगाइ तपाईंसँग पनि मिल्न सक्छन् !
कुनै समय विवाहको प्रस्ताव गरिएकी युवतीलाई जीवनको जुनसुकै मोड या समयमा ‘तँलाई पाएरै छोड्छु, हेरिराख्’ भन्ने हिम्मत राख्ने ऊ यति मात्रै भन्दैन, ‘घर बनाउन गाह्रो घर बनेपछि तला थप्न के गाह्रो’ पनि भन्छ । सबैले साहसी र बोल्ड भनिएकी ऊ सार्वजनिक यातायातभित्र टाउको निहुर्‍याएर बस्छे । आफ्नो सुदूर भविष्य कति धेरै असुरक्षित रहेछ भन्ने महसुस गर्दी हो र मनमनै काम्दी हो ! त्यो कम्पनले मात्रै कसरी ऊ सुरक्षित रहली र ?? हाल विद्यार्थी राजनीतिमा राम्रै पकड बनाएको ऊ भोलिका दिनमा सिंहदरबारमा विराजमान हुन सक्छ । अहिले प्रतिपक्षको मोर्चामा रहँदा त त्यतिको धम्की दिन सक्ने भोलि सत्तासँगको हिमचिम र शक्तिको अभ्यास हुँदा के गर्ला ??
असाध्यै आदरणीय मानेको कोही व्यक्ति ! जसलाई उसको सफलताका नाममा बधाई दिँदा जवाफमा हात तेर्स्याउँछ । सम–सम्मान ठानेर हात मिलाउँदा हत्केलामा कोट्याएर निर्लज्ज मुस्कुराउँछ । उसको मुस्कानमा लुकेको कुटिलता ऊ बुझ्न सक्छे, किनकि त्यो हात कोट्याइको अर्थ उहिले क्याम्पस जीवनको सुरुआती दिनमा कुनै साथीले उसलाई बुझाएकी थिई । बाबुको उमेरको ऊप्रतिको सम्मान फेरि औपचारिकताभन्दा माथि कहिल्यै उठेन र उठ्दैन पनि ।
बिहान ४ः२१ मिनेटमा लगालग केही दिनसम्म फोन आउँछ । उठाउँदा कोही बोल्दैन । गर्दा उठ्दैन । कहिलेकाहीँ दिउँसो पनि फोन बज्छ । उठाएर सोध्दा को हो भन्ने स्पष्ट उत्तर दिँदैन । पत्ता लगाउँदै जाँदा साथीको श्रीमान् भेटिन्छ । सोझी साथीलाई सुनाउनु भनेको उसलाई दुःखी बनाउनु हो भन्ठानेर ऊ चुपचाप बस्छे ।
केयूकेएलले बिहान नहुँदै अन्धकारमा छोड्ने खानेपानी थाप्न उठेकी ऊ म्यासेन्जरमा देखिएको म्यासेजले स्तब्ध बन्छे । लेखिएको हुन्छ, ‘श्रीमती घरमा छैन ।... समातेर बसेको छु ।’ प्रविधिले दिएको हरियो बल्ने स्वतन्त्रताको उपभोगबापत यस्तो आइलाग्छ भन्ने उसलाई के थाहा ? छेउमा सुतिरहेको श्रीमान्का आँखा उघ्रिहाल्लान् भने भयले ऊ हतारमा उक्त म्यासेज डिलेट गर्छे ।
आफूसँग ‘गहिरो सम्बन्ध’ (यहाँ गहिरो सम्बन्धले यौनसम्बन्धलाई संकेत गरेको छ) राखेका महिला मित्रको उन्नति भएको बताउने पुरुष उसकै नाममा जीवन बिताइरहेकी पत्नीचैं कहाँ पुगी भन्दा नाजवाफ बन्छ । दशक लामो सम्बन्धको धारमा ऊ कति खिइएर बाँचेकी छ, एक्ला चिसा रात र ओछ्यानले आवाज भए बक्नेथिए किनकि ती सबका साक्षी ती मात्रै नै त छन् ।
एउटा सामान्य सहयोग तथा जानकारीका लागि गरिएको फोनलगत्तै ऊ हाजिर हुन्छ भन्ने के थाहा ? ढोकाको वारिपारि उभिएकी आफू कसरी पुगी उसको नजिक ! यतिका वर्षपछि पनि ऊ सम्झन सक्दिनँ । हठात तानिएकी उसले गरेको अनुरोध र प्रतिकारका बाबजुद उसका ओठमा लपलपाएको कसैको जिब्रोको चिसोले ऊ कसरी हिउँजस्तै जमेकी थिई ? ऊ ढोकैबाट नउम्किएकी भए पर्दाभित्रै लुकेका तमाम बलात्कृतको सूचीमा आफ्नो नाम जीवनभरमा कतिपटक पढ्दी हो ?
विवाहका लागि आएको एनआरएन भविष्यकी अर्धांगिनीसँग शारीरिक सामीप्य चाहन्छ । तर, फर्किएपछि एक फोन गर्न पनि आवश्यक ठान्दैन । ऊ भने यी सब चुपचाप बिर्सिदिन्छे र अर्को संसार बसाउँछे ।
कहिल्यै भेटघाट नभएको ऊ एक्कासि म्यासेज गर्छ र भन्छ— तिम्रा आँखाले मलाई केही भने । उसको यस्तो प्रतिक्रियाले आश्यर्चमा परेकी ऊ मुखले आवाज निकाल्न सक्दिनँ तर यहाँ आँखै जो बोल्ने कुरा गर्छन् । कोही अतिशय प्रशंसाले जित्न खोज्छन् । कोही सहयोगका नाममा, कोही सदाशयताका नाममा तौलिन खोज्छन् ।
आफ्नै निवासमा मित्रलाई स्वागत गरेकी ऊ कसरी उसको अंगालोमा निसासिन्छे ? ऊ कसरी निर्लज्ज ‘एउटा हग मात्रै’, ‘एउटा किस मात्रै’ भन्छ !
बिरामी देवरलाई स्याहार गरिरहेकी भाउजूको बात्सल्यमा किन देवर वासना देख्छ ?? दाइभन्दा भाउजू सानी भएकै नाममा किन कुनै देवर भाउजूको पछि लाग्छ ??
सम्बन्धको घाउले थलिएकी ऊ आफ्नै वकिलका ‘घुम्न जाऊँ, भेटौं’ भन्ने प्रस्तावले कति घायल हुन्छे भन्ने अनुमान कुन कानुनले गर्न सक्छ ?? तर, उही वकिल इजलासमा भने आइदिँदैन । न त उसको फोन नै उठाउँछ !
यस्ता नियतका खोटीहरू कहाँ छैनन् ??
कोही महिला एक्ला छन् या हुन् भन्ने थाहा पाएपछि उनीहरूको जैविक, प्राकृतिक आवश्यकताका पक्षमा वकालत गर्नेहरू प्रशस्त भेटिनेरहेछन्– ‘तिमी आफूलाई नमार, यसरी आफूलाई मार्नुहुँदैन, शरीरमाथि अन्याय गर्नु पाप हो । शरीरलाई अतृप्त राखेमा मरेपछि पनि मोक्ष मिल्दैन । आत्मा अतृप्त नै भड्किन्छ ।’ यसो भन्नेहरूलाई लाग्छ— यो धराका तमाम महिलाको पीर छ उनीहरूलाई, ती ठान्छन्— उनीहरू तिनका उद्धारक हुन्, मसिहा हुन् तर आफ्नै गृहस्थीको नौका डुब्न लागेको हेक्का भने तिनलाई हुँदो हो कि नहुँदो हो ??
उसको गर्भ अडिएन । आमा बन्ने चाहले उसलाई अस्पताल मात्र होइन, ज्योतिषकहाँ पनि पुर्‍यायो । ‘तिम्रो ग्रह खराब रहेछ, तिमी एउटै पुरुषको धर्म (यौनसम्बन्ध) मा रहेकीले गर्भपात भइरहेको हो । तिमीले अन्य कुनै परपुरुषसँग सम्बन्ध राख्यौ भने तिमी आमा बन्न सक्छ््यौ ।’ ज्योतिषको कुराले बोली हराएकी ऊ नबोलेपछि ज्योतिष आफैं बोल्छ, ‘कसैले त यो काम गुरु तपाईं आफैं गरिदिनु पनि भन्छन् । के छ विचार ?’ यसपछि उसको बोली मात्रै होइन, आमा बन्ने चाह पनि हराउँछ ।
कोही प्रधानाध्यापक दिउँसै रक्सीले मातेर विद्यालय आउँछ । कुनै शिक्षिकालाई बोलाउन पियन पठाउँछ र पियनलाई मादल बजाउन लगाएर ती शिक्षिकालाई नाच्न लगाउँछ । त्यसबेला पढाउन गएकी गुरुआमाको आत्मसम्मान कता थन्किँदो हो ? ती महिलाका खुट्टाले कस्तो नृत्य गर्दा हुन् ?
ऊ राजनीतिको लामो यात्रा गरेर यहाँसम्म आइपुगेकी छे । समाजको कायापलट राजनीतिले नै गर्छ भन्ने गहिरो विश्वास छ उसलाई । ‘समाज तथा राष्ट्र परिवर्तन गर्ने जिम्मा लिएका नेताहरू ईश्वरीय अवतार नै हुन् भन्ने गरी’ आस्था उसलाई पनि छ । ऊ पार्टी अध्यक्षकहाँ पुग्न चाहन्छे । पार्टी अध्यक्ष घरमै आउन निम्तो गर्छन् । पार्टी प्रमुखको घरमा भीडभाड होला, नेता/कार्यकर्ता घरभरि होलान् भन्ठानिरहेकी ऊ पुग्दा घर चकमन्न हुन्छ । भगवान् ठानेको नेता अगाडि पुग्छे ऊ । त्यहाँ पनि ऊ एक्लै भेटिन्छ । सामान्य भलाकुसारीपछि अध्यक्ष कामरेड बोल्छन्, ‘यौनबारेचाहिँ कामरेडको के धारणा छ ? हामी कम्युनिस्टहरू यौनका मामिलामा उदार छौं । उदार हुनुपर्छ । महिलाहरू एउटै पुरुषसँग आजीवन सन्तुष्ट हुनुपर्छ भन्ने छैन... ।’ उसको आँखा अगाडिको संसार फनन्न घुम्छ । उसको आस्था यसरी हल्लिन्छ, ऊ फेरि राजनीतितर्फ फर्केर हेर्दिनँ । र, कुनै समय उसले भगवान् ठानेको उसको पार्टी अध्यक्ष यो देशको प्रधानमन्त्री पनि भइके । ऊ भने खुम्चिएर यो तमाम भीडभन्दा पर कतै बसिरहेकी छे ।
चुपचाप बसेको कुनै अपराह्नमा बजेको भाइबर म्यासेजमा ‘लंड चुस्ने कि विधि’ आइपुग्छ, कुनै छोरीको बाबु जब मध्यरातमा अविवाहित रहनुका बेफाइदा इन्बक्स गर्छ, जो पत्नीसँगको स्खलनबाट नतग्रिंदै एकाबिहानै नियमित सेक्स गर्नाले मुटु दह्रो हुने लिंक ह्वाट्सएप गर्छ ।
यी को हुन् त ?? यी हाम्रै वरिपरि रहेका, हाम्रै चिनजान र शुभचिन्तक (?) का आवरणमा रहेका व्यक्ति हुन्, नेता हुन्, लेखक हुन्, शिक्षक, प्राध्यापक हुन्, पत्रकार हुन्, वकिल, चिकित्सक, व्यापारी, सहरका नामूद ज्योतिष, ठूलै आयोजनाका हाकिम हुन्, परम्परागत राजनीतिक पार्टीका भ्रातृ संगठन र माउ पार्टीका नेतादेखि वैकल्पिक शक्ति बन्न घस्रिरहेका पार्टीका नेता हुन्, जो प्रत्यक्ष/अप्रत्यक्ष व्यभिचारको बल्छी बोकेर हिँडिरहेका छन् । र, सबैभन्दा ठूलो अफसोच, समग्र महिला उन्नयन र जागृतिको नाममा राजनीति गर्ने ठेक्का झने यिनै नियतका खोटीहरूले लिएका छन् ।
@bimalisabita

कोसेली

इपिसेन्टरबाट एयर–लिफ्ट

नेपाली ध्वजाबाहक विमान फागुन ३ गते दिउसो बुहान पुगेर १४ घण्टापछि नेपाल फर्कियो । त्यो एयर–लिफ्ट मिसन सफल बन्यो । तर, मिसन सजिलै तय भएको थिएन । बुहान उडानपछाडिको कथा भने यस्तो छ ।
- सुरज कुँवर

चीनको बुहान इपिसेन्टर भएको कोरोनाबारे विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल’ घोषणा गरेपछि अमेरिका, भारत मात्रै होइन बंगलादेशलगायतका मुलुकले आफ्ना नागरिकलाई विशेष उडानमार्फत भटाभट एयर लिफ्ट (उद्धार) गरे ।
मध्यमाघमा विश्वका थुप्रै मुलुकका जहाज बुहानतर्फ चार्टर उडान गरिरहँदा यता नेपाल भने अलमलमै देखिन्थ्यो । जब सरकारको तीव्र आलोचना भयो अनि मात्रै मन्त्रीहरूले काठमाडौंबाट जहाज पठाउने निर्णय पहिलोपटक सुनाए । तर, मिति र कसको जहाजबाट उद्धार गर्नेबारे तय भइनसकेको अपुरो जानकारी मात्रै दिए । केन्द्रिय सरकारका मन्त्रीहरूले कहिले निजी क्षेत्रको हिमालय एयरलायन्सबाट भनी हिँडे या त केहिले सरकारी ध्वजाबाहक निगमको जहाज तयारी अवस्थामा रहेको भनी बोले ।
यता उद्धार गरिएकालाई राख्न स्वास्थ्य मन्त्रालयले बनाउने क्वारेन्टाइनबारे फेरि सांसद र जनप्रतिनिधिको विरोध संसद्देखि सञ्चारमाध्यमसम्ममा छचल्कियो भने चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावक काठमाडौंमा स्वास्थ्य मन्त्रालयमै पुगेर रुवाबासी गर्न थाले । भक्तपुरका स्थानीयले पनि क्वारेन्टाइन स्थापना गर्न नदिने भनेपछि प्रधानमन्त्रीले संसद्मै ‘भक्तपुर मेरो पनि गृह जिल्ला हो’ भनी सम्बोधनबाट भन्नुपर्‍यो ।
उता बेइजिङमा मध्यमाघदेखि नै नेपाली दूतावासले हुई–च्याटबाट सूचना प्रेसित गर्दै घर फर्किन चाहनेहरूको नाम संकलन थालिसकेको थियो । जसमा ‘१ सय ८० नेपाली घर फर्किन इच्छुक’ देखिएका थिए । तर, उनीहरूलाई फर्काउने मिति उसले पनि चीनमा रहेका नेपालीमाझ भन्न सकिरहेको थिएन ।
यस्तै अलमलबीच माघ १९ गते बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको कार्यकक्षमा एउटा बैठक बस्यो । जुन बैठकको जोडले नेपालीलाई उद्धार गर्न बल पुग्यो । र, नेपाली ध्वजाबाहक विमान बुहान पुगेर फर्कियो । मिसन सफल बन्यो । तर, यो मिसन सजिलै तय भएको थिएन । बुहानको उडानपछाडिको कथा भने बेग्लै छ । र, यसपछाडिको लामो कथा रहस्यमै छ । यो कथा सधैं रहस्यमा रहनुहुँदैन ।
बबरमहलको बैठकमा पर्यटन मन्त्रालयका सहसचिवसहित, ठूला जेट उडाइरहेका नेपाल वायुसेवा निगम र चीनका ५ वटा सहरमा उडान अनुभव भएको हिमालयका प्रतिनिधि, विश्व स्वास्थ्य संगठनका विज्ञ, स्वास्थ्य मन्त्रालय, अध्यागनम तथा भन्सार विभागका जिम्मेवार प्रतिनिधि पनि थिए । त्यो बैठकको उद्देश्य नेपालीको जतिसक्दो चाँडो उद्धार थियो । तर, नेपालसँग यस्तो महामारीबाट आफ्ना नागरिकलाई उद्धार गरेको अनुभव पहिले कहिल्यै थिएन । एक अधिकारीले भनेअनुसार, हिमालयले नेपालीहरूको उद्धार गरिदिए हुन्थ्यो भन्ने मनसाय सबैको थियो । तर, बैठकमा सहभागी हिमालयका उपाध्यक्ष विजय श्रेष्ठ त्यस दिन बीचैमा निस्केका थिए ।
‘व्यावसायिक उडान अनुमति नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा चार्टर उडान गराउने हिमालय गइहाल्छ कि भन्ने लागेको थियो सरकारी पक्षलाई पनि । तर, पछि उसले आफ्ना तीनवटा एयरबस मध्ये केही मर्मतसम्भारमा रहेकाले नजाने खबर सरकारी संयन्त्रलाई टिपाउँदै पन्छियो । हिमालयले यो उद्धार कार्यमा सरकारी ध्वजाबाहक नै जाओस् भन्ने चाहेको थियो भने निगम चीनमा आफ्नो उडान अनुभव र संरचना नभएकाले हिमालय जाओस् भन्नेमा थियो ।
प्राधिकरणको बैठकमा निगमका तर्फबाट थिए, नायब महाप्रबन्धक गणेशबहादुर चन्द र पाइलट/क्याबिनक्रुहरूको विभाग हेर्ने निर्देशक दीपुराज ज्वार्चन । उनले चुनौतीपूर्ण उडान निगमकै भागमा आइलाग्ने जनाउ दिदै आफ्ना हाकिमहरूलाई, पछि हटेर होइन अघि बढ्नु नै हितकर हुने भन्दै प्लानिङ थाल्नु नै उपयुक्त हुने सल्लाह दिएछन् ।
प्रायः सञ्चारमाध्यममा नकारात्मक चर्चा पाइरहने निगम व्यवस्थापनले यसै कामबाट आफ्नो छबिमा थोरै भए पनि प्रशंसा बटुल्ने अपेक्षा बढायो । उसले आफ्ना सूचीमा रहेका भारत र दुबईका तीनवटा विदेशी एजेन्टलाई बुहानको विमानस्थलमा एक मात्र उडान गर्दा पाइने सेवासुविधा, इन्धन, ग्राउन्ड उपकरण लगायतबारे जानकारी लियो । एयरलायन्सले कुनै विशेष परिस्थितिमा वा छोटो समयका लागि नयाँ विमानस्थलमा उडान गर्नुपरेमा एजेन्टको सहायता नलिई हुँदैन । तिनले ती स्थानमा जहाजलाई चाहिन सक्ने मर्मत–सम्भार, इन्धनदेखि चालकदललाई बास बस्नुपरेमा होटलसम्म खोजिदिन्छन् ।
चीनबाट घर फर्किन इच्छुक १ सय ८० जनालाई निगमको एयरबसको १ सय ५८ सिट भएको न्यारोबडी विमानमा ल्याउन सम्भव थिएन । सप्पै नेपाली नअटाउने भएकाले निगमले २ सय ७४ सिट क्षमताको वाइडबडी विमान पठाउने तयारी गर्‍यो ।
तर, कोरोनाबारे काठमाडौंमा मनोवैज्ञानिक त्रास अत्यधिक पीडादायी रूपमा फैलिरहेको थियो । यो क्रम बढ्दो थियो । निगमले जाने निर्णय त गर्‍यो तर पाइलट, एयरहोस्टेस कसरी छान्ने ? उनीहरू मात्रै भएर हुँदैन, जहाजको प्राविधिक क्षमता हेर्न फ्लाइट डिस्प्याचर, इन्जिनियर र प्राविधिक पनि अनिवार्य उडानमा राख्नैपर्छ । यी सबै समेटिएको टिम कसरी बनाउने ? अनिवार्य गर्ने कि स्वेच्छाले खटाउने ? उद्धारमा प्रयोग हुने जहाजलाई के गर्ने ? लगत्तै उडानमा प्रयोग गर्न मिल्ने हो वा होइन ? कर्मचारीलाई विशेष भत्ता दिने वा के गर्नेबारे निगमका उच्च अधिकारीमा फेरि दुविधा आइलाग्यो । किनकि यस्तो विशेष परिस्थितिमा हुने उडानबारे निगमकै कानुनले पनि प्रस्ट्याएको थिएन ।
यसैबेला निगमको एउटा पाइलटको समूहले आफ्नाअनुकूलका अनलाइनमा ‘नेपाली पाइलट जानै मानेनन्,’ शीर्षकमा बुहान उडानबारे नकारात्मक समाचार लेखाइहाले । महामारीको त्रासले बाहिर माहोल बिग्रँदो थियो । त्यसैमाथि यस्ता सामाचारले जाने इच्छा देखाउनेहरू पनि पन्छिन थाले ।
निगमकै इतिहासमा यो यस्तो उडान हुँदै थियो, जसमा कर्मचारीलाई अनिवार्य खटाउन सकिने अवस्था थिएन । निगमका अपरेसन विभाग प्रमुख पाइलट दीपुराज ज्वार्चनले वाइडबडीका चिफ–पाइलटमार्फत २६ जना पाइलटलाई इमेलबाट बुहान जानुपर्ने भएकाले नाम टिपाउन आग्रह गरे । एयरहोस्टेस/फलाइट एटेन्डेन्टलाई क्याबिन–क्रु–चिफ सुमिली सुब्बाले भाइबर गुप्रमार्फत नाम टिपाउन आह्वान गरिन् । १२ विदेशी र ४ नेपालीसहित १६ जना क्याप्टेनमध्ये सबैभन्दा पहिले सेलिब्रेटी क्याप्टेन विजय लामाले नाम टिपाए । ११ जना कोफाइलटमध्ये चार जना जान इच्छुक देखिए । क्याबिन–त्रुका लागि ६ जना आवश्यक थियो । तर, १५ जना इच्छुक देखिए । ‘देशका लागि केही गरौँ, सधैँ चुनौती र अवसर कहाँ पाइन्छ भन्दै नाम राख्न भनसुन हुन थाल्यो,’ यस विषयमा जोडिएका निगमका एक कर्मचारीले भने, ‘देश र निगमको हित त छँदै छ तर भविष्यमा मैले यस्तो उडानमा सेवा गरेको थिएँ भनेर गर्व गर्नकै लागि फनि त्रुमा हानथाप नै भयो ।’
‘नेपालीहरूको उद्धार गर्न पाइलट विजय लामा जाँदै’ शीर्षकमा युट्युबरले भिडियो सामग्री बनाए । सामाजिक सञ्जालमा प्रचार–प्रसार भयो । पाइलटमा सबैभन्दा पहिले इमेलबाट नाम टिपाउने क्याप्टेन लामा अन्तिम घडीमा आफ्नै निर्णयबाट पछि हटे । निगमलाई छोटो अवधिमा अर्को क्याप्टेन जुटाएर फेरि तालिम दिलाउनुपर्ने भयो । विश्व स्वास्थ्य संगठनको तालिम पनि लिएका क्याप्टेन लामाले नजाने भएपछि निगमले फेरि परराष्ट्र मन्त्रालयमार्फत उनको स्थानमा अर्को क्याप्टेन राखेर प्रक्रिया दोहोर्‍याउनुपर्ने भयो ।
‘जय चन्द्र सूर्य’ भन्दै मातृभूमिप्रेमी पहिचान बनाएका लामाले अन्तिम समयमा बुहान नजाने निर्णय गरेपछि निगम व्यवस्थापन मात्रै नभई सञ्चालक समितिका अध्यक्ष पर्यटन सचिव केदारबहादुर अधिकारी र पर्यटनमन्त्री योगेश भट्टराई पनि रिसाए । ‘सेलिब्रेटी पाइलट विजय लामाले सुरुमा मै जान्छु भनेर सामाजिक सञ्जालमा होहल्ला गरेछ । पछि धोका दियो नि,’ पर्यटनमन्त्री योगेश भट्टराईले उद्धार उडान सकिएपछिको एक बिहान विमानस्थलमा सुनाएका थिए ।
स्वास्थ्य मन्त्रालयले पर्सनल प्रोटेक्टिभ इक्युभमेन्ट (पीपीई) कसरी प्रयोग भनेर दिएको तालिमसमेत लिएर अन्तिममा बुहान जान अस्वीकार गरेका लामालाई पछि निगमले बुहान उडान भएकै अर्को दिन ४८ घण्टाभित्र स्पष्टीकरण माग्यो । निगमले स्वदेशी पाइलट हुँदाहुँदै विदेशी पठाउनुपर्दा निगम र त्यहाँ कार्यरत पाइलटको छविमै आँच पुगेको स्पष्टीकरण–पत्रमा उल्लेख गरेको छ । लामासहित अन्य तीन नेपाली क्याप्टेन नजाने भएपछि निगमले पाकिस्तानी पाइलट मोहम्मद अवेस अरिफको नेतृत्वमा टोली बनायो । ती पाकिस्तानी खुसीका साथ नेपालीको उद्धार गर्न बुहान जान तयार भए । कोपाइलटमा सुनील श्रेष्ठले नाम लेखाए । इन्जिनियर जर्जी इभानोभ, फ्लाइट डिस्प्याचर चक्र नकर्मी, टेक्निसियन सुनीलकुमार थारू, क्याबिन क्रुहरू सुमिली सुब्बा, सान्त्वना तुलाचन, क्रिस्मिना राई, सुरज थापा र अरुणदीप भट्टराई थिए । उक्त जहाजका कमान्डर विदेशी, त्यसमाथि पाकिस्तानी नागरिक र भारतमाथिको आकाश भएर उड्नुपर्ने भएकाले उनीबारे निगमले कागजात बनाउनुपर्‍यो । डिप्लोमेटिक च्यानलबाट थालिएको यो प्रक्रियामै दुई दिन थप लाग्यो ।
लामाले बुहान नजाने भनेपछि केही कोरोनाबाट डराए भने केही १४ दिन क्वारेन्टाइन बस्न डराउँदै पछि हटे । यदि बुहानका लागि वाइडबडी उडाउने क्याप्टेन नै अभाव भइदिएको भए निगमले न्यारोबडी जहाजबाट दुई खेप गर्ने पनि ब्याकअप प्लान बनाइराखेको थियो । तर, परराष्ट्र मन्त्रालयमार्फत सोझै थालिएको प्रक्रियाबाट पाकिस्तानी क्याप्टेनलाई भारतीय आकाश हुँदै चीनको बुहान पुग्ने ओभर फ्लाइङ अनुमति मिलेपछि वाइडबडी नै उड्ने भयो ।
निगमको अपरेसन विभागको अगुवाइमा बबरमहल बैठकबाट १८ बुँदे (पछि मन्त्रालयले २६ बुँदे बनायो) कार्यविधि बनाइएको थियो । ‘चीनबाट ल्याइने नेपाली नागरिकका लागि क्वारेन्टाइनसम्बन्धी प्रोटोकल तथा कार्ययोजना २०७६’ नामको कार्यविधिलाई मन्त्रिपरिषद्ले पारित गरेपछि त्यसैमा टेकेर बुहान जानेहरूका लागि स्वास्थ्य मन्त्रालयका विशेषज्ञले निगममै पुगेर पाइलट/क्याबिन–क्रु, टेक्निसियनलाई तालिम दिएका थिए ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तय गरिएको त्यो तालिमले पन्जा, मास्कलगायत व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) कसरी लगाउने, कसरी डिस्पोज गर्ने, जहाजमा रहँदा के गर्ने/नगर्नेलगायत विषयमा सिकाएको थियो । त्यस्तै जहाजभित्र कसरी रहने, यात्रुलाई सेवा प्रवाह गर्दा वा सम्पर्क गर्दा के गर्ने ? भन्ने विषय पनि समेटिएका थिए । त्यसै कार्यविधिले जहाजलाई ४८ घण्टा र चालकदललाई १४ दिन आइसोलेसनमा राख्नुपर्ने तोक्यो । निगमले तालिमका साथसाथै आँधीबेरीको गतिमा फैलिरहेको नकारात्मकतालाई पनि कम गर्नुपर्ने थियो । अर्थात् नकारात्मक टिप्पणीबाट आफ्ना बुहान जान लागेका सहकर्मीलाई जोगाउनु थियो । यसो गर्न मात्रै निगमले थुप्रै सकारात्मक सोच भएका ब्रिफिङ गर्नुपर्‍यो ।
निगमको जहाज त्यस रुटमा पहिले नउडेकाले रुटको जानकारी अनिवार्य हुनुपर्छ । त्यो बाटोको आधिकारिक डाटा किन्नुपर्छ । संसारभरका हवाई रुटको डाटा एयरलायन्सलाई बिक्री गर्ने काम हनिवेल नामको कम्पनीले गर्छ । काठमाडौंदेखि बुहान पुग्ने बाटो निगमले हनिवेलसँग २ सय डलरमा खरिद गर्‍यो । त्यो बुहान उड्ने वाइडबडी जहाजमा डाउनलोड गरियो । उक्त डाटामा बुहानसम्म पुग्ने हवाईमार्गका कुन–कुन विन्दुबाट एयरट्राफिकलाई सम्पर्क गर्ने, कति उचाइमा उड्नेलगायतका उड्डयनसम्बन्धी सूचना हुन्छन् । यदि बुहानमा जहाज अवतरण हुन नसक्ने भएमा वा कुनै प्राविधिकि खराबी आइरेमा आपत्कालीन अवस्थामा सांघाईलाई वैकल्पिक विमानस्थलका रूपमा बनाइयो । यसका लागि चीनसँग अनुमति लिइयो । निगमले कतिसम्म गर्‍यो भने, मन्त्रिपरिषद्ले जहाज उड्ने निर्णय गरेपछि एक दिनमै पाइलटसहित १२ जनाका लागि किनमेल गरिदियो । त्यो किनमेलमा १५ दिन क्वारेन्टाइनमा बस्दा आवश्यक पर्ने व्यक्तिगत उपयोगी सामग्री थिए । उडान हुने दिन पोसाकमा जान नमिल्ने अवस्था थियो । एयरहोस्टेसले बख्खु र सारीमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाउन मिल्दैनथ्यो । त्यसैले दुई दिनअघि मात्रै बनाइयो निगमको लोगो भएको टिसर्ट ।
बुहान पुगेर फर्किहाल्नुपर्ने भएकाले उता सिमकार्ड किनेर सर्म्पक गर्न वा वाईफाई कनेक्सन सम्भव थिएन । नेपालमा केही अतिआवश्यक सर्म्पक गर्नुपरे के गर्ने ? यसको समाधान खोजियो । निगमको टोलीमा रहेका फलाइट डिस्प्याचर चक्र नकर्मीको नेपालको एनसेल नम्बरलाई त्यस रात अन्तर्राष्ट्रिय रोमिङमा बदलेर अनलिमिटेड डाटा प्याक राखियो । अन्तिम सयममा व्यक्तिगत चिनजानका आधारमा अपरेसन निर्देशक ज्वारचनले यसो गरेका थिए, जसले गर्दा अब बुहानमा केही भइहाले उनले नेपालमा सजिलै सर्म्पक गर्न सक्ने भए ।जहाज चीनमा अवतरण भएपछि त्यस रात कति बजे पार्किङमा पुग्यो, ढोका कति बजे खोलियो, यात्रु कति समयमा बोर्डिङ गरिए, कति चढे, कति फर्किए आदि जानकारी नकर्मीले निगममा पठाइरहे । जहाज नेपाल फर्किनुअघिसम्म नकर्मीले मिनेट–मिनेटमा दिएका खबर यता काठमाडौंमा निगमका नायब महाप्रबन्धकदेखि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, पर्यटन मन्त्रालयका सहसचिव, सचिव, मन्त्रीदेखि प्रधानमन्त्रीको निजी सचिवालयसम्मलाई छिनछिनमा टिपाइएको थियो । यो क्रम काठमाडौंमा बिहान जहाज अवतरण गर्दासम्म चलिरह्यो ।
यसरी तयारी गरेर मात्रै निगमले फागुन ३ गते शनिबार दिउसो आफ्नो १२ अर्ब रुपैयाँ बराबरको ब्रान्ड–न्यु जहाजलाई कोरोना भाइरसको इपिसेन्टर मानिने हुवेई प्रान्तको बुहान पठायो । जब बुहानमा नेपाली ध्वजाबाहक विमान आफ्ना नागरिकलाई लिन अवतरण भयो, जहाज कुरेर बसेका थुप्रै नेपालीका आँखामा खुसीका आँसु बगे । उनीहरूले ध्वजाबाहक निगमलाई ढोगे । आफ्ना कारण दुई साता क्वारेन्टाइन बस्न बाध्य भएका निगमका कर्मचारीलाई तिनीहरूका अभिभावकले क्वारेन्टाइनमै पुगेर अभिनन्दन पनि गरे ।

कोसेली

अधिकृतकै घरमा अपमान

- दीपा नेपाली

मेरो घर कैलाली हो । काठमाडौंमा मेरो घर छैन । अध्ययन गर्न राजधानी छिरेको मेरा लागि डेरा बस्नु बाध्यता हो । कैयौं विद्यार्थी मजस्तै अरूकै घरमा भाडा तिरेर डेरा बसिरहेका छन् ।
करिब तीन महिना मैले यो सहरको गल्ली–गल्ली चहारेर कोठा खोजेँ । बल्लबल्ल एउटा घरमा कोठा भेटियो । ठूलो राहतको महसुस भयो । नयाँ कोठामा बस्नेमा ढुक्क भइयो । घरबेटीले जब भोलिपल्ट मेरो थर थाहा पाए, त्यसपछि जातीय विभेदको भाषा–व्यवहार गर्न थाले ।
आफ्नो जात/थर खुलेर बताएपछि नै म जातीय विभेदको सिकार बन्न पुगेँ । मेरो थरकै कारण प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यसअघि पनि मैले पीडाको महसुस गरेकै थिएँ । के दलितले आफ्नो परिचय खुलेर भन्न पाउने अवस्था अझै बनिसकेको छैन यो सहरमा ?

४ भाइबहिनीसहित नेपालटारमा बसिरहेको मलाई घरबेटीले हालै दलित भएकै कारण कोठा छाड्न पटकपटक दबाब दिए । घरबेटीले मलाई डेरा छाड्न मात्रै भनेनन्, ‘तल्लो जातको’ भन्दै दुर्व्यवहारसमेत गरे । गृह मन्त्रालयअन्तर्गत काम गर्ने मेरा घरबेटी अनुसन्धान विभागका अधिकृत हुन् । गृह मन्त्रालयका कर्मचारी भएकै कारण प्रहरीले उजुरी लिन पनि ढिलाइ गर्‍यो । ३ दिनदेखि जाहेरी लिएर प्रहरी कार्यालय गएँ । डीएसपीले ‘अलि बुझेर मात्रै जाहेरी दर्ता गर्नुपर्छ’ भनेर आलटाल गरे । उजुरी त दर्ता त भयो तर निष्पक्ष छानबिन होला भन्नेमा शंका छ । न्याय दिने होइन बरु घरबेटी कसको मान्छे, कुन पार्टीनिकट छ, त्यसको खोजी हुन थाल्यो ।
यो घरमा बस्नुअघि म त्रिभुवन विश्वविद्यालयको छात्रावासमा बसेर पढ्थें । भाइबहिनी पनि काठमाडौं पढ्न आउने भएपछि मैले होस्टल छाडेर कोठा खोजेकी हुँ । कीर्तिपुर, चाबहिल, जोरपाटी, बालाजु, सामाखुसी धेरैतिर कोठा खोज्दा थर सोध्दै कोठा नदिएपछि म नेपालटार पुगेकी हुँ । डेरा भेटिएपछि म फुरुंग थिएँ । तर, कोठामा बस्न थालेको भोलिपल्टै घरबेटीले दलित भएको कारण देखाउँदै घरबाट निस्कन दबाब दिन थाले । मेरो खुसी २४ घण्टा पनि टिकेन । दलित भएकै कारण धेरै ठाउँमा कोठा दिएनन्, बल्लबल्ल भेटेको कोठाबाट पनि भोलिपल्टैदेखि घरबेटीले छोडेर निस्की भन्न थाले । डेरा पाएकै साँझ उनीहरू हाम्रो नाम–थर सुनेर बिच्किए । भोलिपल्ट सबेरै (मंसिर १४ गते) घरबेटी आएर ‘कोठा छोड्’ भनेर दबाब दिए । घरबेटीले भने, ‘तिमी तल्लो जातको रहिछौ, तिमरुलाई मेरो घरमा राख्दा समाजले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ ।’ हामी तीनछक पर्‍यौं । घरबेटीकी श्रीमतीले पनि निरन्तर कोठा छाड्न दबाब दिइरहिन् । हुँदाहुँदा नातागोता र छिमेकी बोलाएरसमेत डेरा छोड्न दुर्व्यवहार गरिरहे । हामीलाई घरबाट निकाल्न घरबेटीले ३५ दिनभित्र पूरै घर खाली गर्न सूचना नै टाँसेका छन् ।

समाजमा परिवर्तन धेरै भए पनि जातीय विभेदको शृंखला रोकिएको छैन । देशकै राजधानी काठमाडौंमा त म आफैँले विभेद भोग्नुपर्‍यो भने दूरदराजका दलितको अवस्था कस्तो होला ? आफ्नो थर खुलेर भन्न नपाउनुजत्तिको पीडा अरू के हुन सक्छ ?
गाउँ वा सहरमा हुने विभेदको पीडा उस्तै हो । तर, विभेद गरिने तरिका फरक छ । गाउँमा परम्परागत कुसंस्कारको प्रभावले हामी विभेदमा पर्छौं । सहरमा भने शिक्षित भईकन पनि जानाजान पावर र पहुँचको आधारमा विभेद गर्ने गरिन्छ । जोसँग राजनीतिक पावर छ, उनीहरू त्यही अहम्का कारण कानुनलाई पैतालाले टेक्छन् र सामाजिक अपराधलाई शिरमा बोकेर खुलेआम हिँड्छन् ।
जति पनि जातीय विभेदका घटना भइरहेका छन्, ती सबै पीडितले न्याय नपाउनुमा राजनीतिक सम्बन्ध र पहुँच नै मुख्य कारक रहेछ । राजनीतिक संरक्षणले पीडक सजायबाट उम्किएका छन्, पीडित झनै प्रताडित बन्नुपरेको छ ।
बहालवाला नेपाल सरकारको अधिकृत तहका कर्मचारीको घरमै दलित विद्यार्थीमाथि विभेद हुनु मेरो मात्रै होइन, देशकै दुर्भाग्य हो ।
कानुन छ, संविधान छ भनेर म न्यायिक निकाय पुगेकी थिएँ । मेरो न कुनै पावर छ, न कुनै पहुँच । मात्र मलाई थाहा छ— मेरो देशमा कानुन छ, कानुनले पीडितलाई न्याय र पीडकलाई सजाय दिन्छ । तर, ऐन कानुन थाहा पाएर पनि मास्टर्स अध्ययनरत कानुनको विद्यार्थी मै रनभुल्लमा परेकी छु । विभेदकै कारण मानसिक तथा मनोवैज्ञानिक असरले मेरो दैनिकी अझै सामान्य बन्न सकिरहेको छैन ।
उत्पीडित समुदायको पहुँचविहीन मानिसले न्यायिक निकायमा गएर एउटा मुद्दा दर्ता गर्न पनि सहज छैन । निष्पक्ष न्याय त परको कुरा, उल्टै पीडित झन् पीडा बोकेर फर्कनुपर्ने अवस्था छ । के हामीले न्याय पाउने सवालमा दलित समुदाय नै राज्यको पहुँचमा पुग्नुपर्ने ? राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री दलित नै हुनुपर्ने हो त ? यदि त्यसो हो भने दलित, मधेसी, महिला, पिछडिएको जाति समुदायका लागि भएको यत्रो आन्दोलनपछि स्थापित गणतन्त्रले केका लागि ? कसका लागि ?
कानुन भन्छ, ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन ।’
तर, कसैले यस्तो अन्याय भोगे पीडितलाई न्याय दिन किन कानुन कार्यन्वयनमा ल्याउन सक्दैनन् सरकारी संयन्त्र ? विभेदका धेरैजसो घटना सामान्य रूपमा मेलमिलापमा नै टुंग्याइन्छ, किन ? यस्तो प्रवृत्तिविरुद्ध हामी दलित मात्र होइन गैरदलितबाट पनि सशक्त आवाज उठ्नु त्यतिकै जरुरी छ । संसदीय लोकतान्त्रिक शासन पद्धतिबाट मुलुक चलेको हो भने ममाथि भएको घटनाका दोषीलाई कानुबमोजिम कारबाही गर्न किन ढिलाइ ?
देशको शासन सत्ता फेरिनेबित्तिकै उत्पीडित वर्ग र समुदायले न्याय पाए भन्ने होइन । यहाँ जसको सत्ता छ, उसैको पावर । उसकै पक्षमा न्यायिक निर्णय । यो विडम्बना पहुँचविहीन नेपाली सबैलाई थाहा छ ।
म एउटा विद्यार्थीमाथि यत्रो घटना हुँदा किन विद्यार्थी संगठनको मुद्दा बन्न सकेन ? म सोचिरहेछु, देशका प्रत्येकजसो मुद्दामा कालो कफन बाँधेर सडकमा टायर बालेर आन्दोलन गर्ने विद्यार्थी संगठनले मेरो खबर थाहा पाए कि पाएनन् ? के दलित विद्यार्थीका मुद्दा विद्यार्थी संगठनभित्र पर्दैन ?
समाजका बौद्धिक, प्राज्ञिक वर्गको मौनता घातक र दुख्ने विषय बनेको छ । किन बोल्दैनन् यो देशका उच्चपदस्थ अधिकारीहरू ? किन सुनिँदैन सुशिक्षित र विद्वत् वर्गबाट जातीय छुवाछूतविरोधी आवाज ?
र, फेरि पनि प्रश्नहरू नै छन् मेराअघि– दलितले राजधानीजस्तो ठाउँमा खुलेर आफ्नो जात/थर भन्न पाउने कि नपाउने ?

कोसेली

अन्ततः बदलिन्छ फैसला

क्लासिक फिल्म
- किरण विक

निकै सिनेमा–प्रेमीले रुचाएको अर्थपूर्ण हिन्दी सिनेमा हो ‘एक रुका हुवा फैसला’ । यो थियो सिड्नी ल्युमेटले बनाएको ‘ट्वेल्भ एन्ग्री मेन’ (सन् १९५७) को रिमेक । नेपालीमा पनि यसको नाटक बन्यो— राजन खतिवडाको निर्देशनमा ‘बाह्र दुर्वासा’ भनेर । वास्तवमा, ‘ट्वेल्भ एन्ग्री मेन’ नाटककै रूपमा लेखिएको थियो । सन् १९५४ मा रेगिनाल्ड रोजले एउटा अमेरिकी टीभी च्यानलका लागि लेखेको नाटक जुन विभिन्न भाषामा अनुवाद भएर विभिन्न मुलुकमा नाटककै रूपमा यसको थुप्रै प्रदर्शन भइसकेको छ । सन् असीको दशकमा रञ्जित कपुरले यसलाई हिन्दीमा उल्था गरे । र, सन् १९८६ मा वासु चटर्जीले सिल्भर स्क्रिनमा उतारे ।
न्यायविधिमा एउटा त्यस्तो व्यवस्था हुन्छ जसलाई एमिकस क्युरी भनिन्छ, जसअन्तर्गत आवश्यक मानिएको खण्डमा समाजका लब्धप्रतिष्ठित र निष्पक्ष व्यक्तिहरूबाट जटिल मुद्दाहरूको फैसला सहज बनाउन सहयोग लिइन्छ । फैसलामा त्यस समूहका सबैको एकै राय हुनुपर्छ । फिल्म र नाटक यही समूहको आपसी छलफल र द्वन्द्वको कथा होः एक जना युवक आरोपित छ आफ्नै बाउको हत्या गरेकोमा ।
जटिल परिस्थितिका कारण अदालतले १२ जना प्रतिष्ठित व्यक्तिको एमिकस क्युरी खडा गर्छ । उनीहरू एउटा कोठामा जम्मा हुन्छन् र सुरु हुन्छ बहस । समूहमध्ये एक जनाले सही–गलतको निष्कर्ष निकाल्न पूरै केस सुरुदेखि अध्ययन गर्नु जरुरी छ भनेपछि मुद्दाको चिरफार सुरु हुन्छ । समूहको एघारै जना एकमत हुन्छन् केटो दोषी भएकोमा । तर, एक जना त्यसको विपक्षमा हुन्छ । द्वन्द्वको सुरुआत यहीँबाट हुन्छ ।
सिनेमामा कुनै पनि पात्रको नाउँ दिइएको छैन, नम्बर दिइएको छ । पात्र नम्बर एक छलफलको अनौपचारिक नेतृत्व गर्ने भूमिकामा छ । ऊ कुनै हाइस्कुलमा फुटबल कोचका रूपमा काम गर्छ । तर, ऊ सभाको प्रमुखचाहिँ होइन । सभामा सबैको बराबर हैसियत छ । दोस्रो नम्बरको पात्र युवक दोषी हो भन्नेमा एकोहोरो रूपमा विश्वस्त छ, उसलाई कारणको वास्ता छैन । ऊ बैंकमा काम गर्ने कर्मचारी हुन्छ । तेस्रो नम्बरको पात्र यस फिल्मको एक जना महत्त्वपूर्ण पात्रमध्येको एक हो । ऊ स्वयं सिनियर वकिल हो । ऊसले यसप्रकारका अनेकौँ केस लडिसकेको छ । ऊ पनि दोषी युवकलाई नै ठान्छ, किनभने सबै प्रमाण युवकको विरुद्धमा छ । युवकले किनेको चक्कु, बाउ–छोराको चर्काचर्की सुन्ने छिमेकी बूढो र झगडापछि घरबाहिर निस्केको देख्ने छिमेकी आइमाई यस केसका मुख्य प्रमाण हुन् । चौथो नम्बरको पात्र अरूभन्दा अलि भिन्न स्वभावको छ । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न हिच्किचाउँदैन । ऊ स्टक मार्केटको दलाल हुन्छ । तर, ऊ पनि युवकलाई नै दोषी ठान्छ । पाँचौ पात्रको आफ्नो कुनै राय हुँदैन । अरूको लहैलहैमा आफ्नो राय राख्छ । आरोपित युवकजस्तै ऊ पनि सुकुम्बासी बस्तीमै हुर्केको हुन्छ । छैटौं पात्र पनि केटोको विपक्षमै रहन्छ । ऊ हाउस पेन्टर हो । सातौं पात्र पनि पटकपटक जेल गएको युवकको पृष्ठभूमिका कारण उसैलाई दोषी ठान्छ । ऊ सेल्सम्यान हो । आठौं नम्बरको पात्र सुरुदेखि नै युवक दोषी वा निर्दोष भन्नेमा निश्चित छैन । ऊ आर्किटेक्ट हो । एक जना तन्नेरी ठिटोलाई फाँसी दिइन लागेको हुनाले यो मुद्दालाई उसले गम्भीरतापूर्वक लिएको छ । ऊ अलि भावुक पनि छ । केटाको पक्षबाट सित्तैंमा लडिदिने अवैतनिक वकिलले बिनापैसा लड्नुपरेकाले केटाको पक्षमा राम्ररी लडेकै छैन भन्ने उसको जिकिर हुन्छ । नवौं नम्बरको प्रौढ मान्छेलाई आठौं नम्बरका तर्कहरू जायज लाग्छन् । दसौं नम्बरको पात्रको बोली चर्को छ, ऊ मोटर–गराज व्यवसायी हो । ऊसको रायमा अहिलेका पुस्ता आपराधिक मनोवृत्तिका छन् । त्यसैले उसको विचारमा युवक दोषी छ । एघारौं नम्बरको पात्रको युरोपमा जन्मिए तापनि अमेरिकी नागरिकता लिएर अमेरिकामै घडीको व्यापारी हुन्छ । बाह्रौं नम्बरको पात्र एडभर्टाइजिङ एजेन्सीमा काम गर्छ । यो छलफलमा आफूलाई सामेल गरेकोमा ऊ खिन्न छ । बेलाबेलामा ऊ पत्रिकामा शब्द–पहेली खेलेर बस्छ । सुरु भएको सिनेमामा आठपटक मतदान गरिन्छ । चर्को बहस र तर्कसँगै बिस्तारै एकको संख्या बढ्दै जान्छ । अलग पृष्ठभूमि, फरक उमेर र भिन्न मनस्थितिमा पात्रहरू भएकाले उनीहरूको विचार पनि पृथक् छ । उनीहरूको तर्कका आधार पनि भिन्नाभिन्नै छन् ।
पूरै फिल्म जम्मा दुईवटा कोठामा सिध्याइएको छ । एउटा बैठककक्ष र अर्को शौचालय जानुअघिको कक्ष । यति सानो स्पेसमा यति गम्भीर कथा बुन्न सक्नु लेखकको कौशल र निर्देशकको कल्पनाशीलताबिना सम्भव थिएन । तर, एउटै फ्रेममा विविध क्रियाकलाप देखाइएकाले पनि स्पेस सानो महसुस हुँदैन । बहस गर्दागर्दै पहिले जुन आधारमा केटो दोषी मानिएको थियो, ती प्रमाणहरू नै फितला हुादै जान्छन् । बहसका क्रममा तेस्रो पात्रले पटकपटक युवकले बाउलाई ‘तँलाई नमारी छाड्दिनँ’ भनेको कुरा दोहोर्‍याइरहन्छ । ऊसको नजरमा यो कारण नै पर्याप्त छ केटोलाई हत्यारा साबित गर्न । एक ठाउँ पुगेपछि आठौं पात्रले तेस्रो पात्रलाई कुराकानीको क्रममा यति उत्तेजित र आक्रोशित बनाइदिन्छ कि तेस्रो पात्रको मुखबाट ‘तँलाई नमारी छाड्दिनँ’ भन्ने वाक्य फुस्किन्छ । तर, उसको मनसाय मार्छु नै भन्ने थिएन । यही कुरा संवादको क्रममा उसलाई बोध हुन्छ । ऊ पनि केटो निर्दोष भएको टुंगोमा पुग्छ । ‘तँलाई नमारी छाड्दिनँ’ भन्ने सुनेको प्रौढ छिमेकीले बडो मधुरो आवाजमा सुनेको हुन्छ । त्यो आवाज जसको पनि हुन सक्छ भन्ने टुंगो लाग्छ । आँखा कमजोर भएकी महिलाले बिनाचस्मा केटोलाई निस्किँदै गरेको देख्नु पनि तर्कसंगत नभएको कुरा बहसमै स्विकारिन्छ । आ–आफ्ना पूर्वाग्रहका कारण युवकलाई फाँसी दिनुपर्छ र ऊ दोषी हो भन्ने पक्षमा रहेका प्रतिष्ठितहरूको राय समयसँगै बदलिँदै जान्छ ।
कुनै पनि व्यक्तिको, घटनाको, मुद्दाको विश्लेषण गर्दा पहिलो विचारलाई नै अन्तिम बनाउनुहुँदैन, अरूको आँखाबाट त्यसलाई हेर्नु हुँदैन भन्ने कुरा लेखकले राखेका छन् । निर्देशकले बडो सुझबुझका साथ रोचक ढंगले यसलाई सिनेमामा रूपान्तरण गरेका छन् । क्लासिक सिनेमाको लर्कोमा यो सिनेमा पनि आफ्नो अर्थपूर्ण स्थान बनाएर बस्नेछ । गम्भीर र विचारोत्तेजक सिनेमाका प्रेमीका निम्ति यस फिल्मको महत्त्व सम्झाइरहनु नपर्ला ।

Page 23
Page 24
कोसेली

माझकिरातका दुर्लभ कागजात

इतिहास कागजपत्र र अभिलेखमा मात्र बाँचेको हुँदैन, सामाजिक स्मृतिमा पनि जीवन्त भइरहेको हुन्छ । फेरि लिखित प्रमाणहरूका अभावमा लामो समयपछि किंवदन्तीमा परिणत हुँदो रहेछ इतिहास । तर, किंवदन्ती नभइसकेका इतिहासका पात्र हुन् माझकिरातका अटल राय र चतमे राय ।
- भोगीराज चाम्लिङ

डेढ महिनाअगाडि ‘म्यासेन्जर’ मा एउटा गज्जब ‘सन्देश’ आयो, जुन पढेर म खुसीले छटपटिएँ । लेखिएको थियो– ‘सेवा–नमस्कार सर, म भोजपुर दिङ्लाबाट । यहाँ मसँग संवत् १८२५–२६ सालको कागजात छ तर खुट्याएर अर्थ्याउन असमर्थ भएकोले तपाईंबाट समाधान हुने थियो कि ?’
विनोद राईले भरोसा गरेर पठाउनुभएको (१२ फेब्रुअरी) यो ‘सन्देश’ पढ्नासाथै मैले त्यो ऐतिहासक कागजात पठाइदिन आग्रह गरेँ । त्यो कागज पढेपछि त झन् मेरा रौंसमेत ठाडा भए । त्यो यति दुर्लभ ऐतिहासिक कागजात थियो कि धेरै–धेरै धेरै नै दुर्लभ थियो । तीन थानमध्ये दुईवटा अटल रायले ‘राजाभारासामर्थ’ का रूपमा जारी गरेको बिर्ता खेत र खेतसँग सम्बन्धित कागज थियो । अर्को एक थानचाहिँ किरात राईहरूले गोरुको मासु खाएबापत सरकारलाई कर (मेगजिन) तिरेको कागज थियो ।
यी कागजात दिङ्लागढी गाउँपालिका, वडा नम्बर ७ साल्मा निवासी पदमबहादुर राई (दुमी) को घरमा उहाँकै छोरा ध्रुव राईको सहयोगमा फेला पारिएको हो । किरात संस्कार र इतिहासबारे गहिरो चासो मात्रै होइन, दखलसमेत राख्नुहुने अवकाशप्राप्त शिक्षक पदमबहादुर राईलाई मैले विनोद राईमार्फत प्रश्न सोधेको थिएँ, ‘यति दुर्लभ ऐतिहासिक कागजात कसरी सुरक्षित रह्यो ?!’ उहाँको सूत्रात्मक जवाफ
आयो, ‘मेरा बराजु, च्याप्जु बाजेहरूको अवज्ञाका कारण ।’
यो ‘अवज्ञा’ का पछाडि रोचक कथा लुकेको रहेछ । पदमबहादुर राईका अनुसार, किरात राई समाजमा बाबुको मृत्युपछि छोराले बाबुसँग सम्बन्धित कुनै पनि प्रकारका कागजात राख्नुहुँदैन, खोला, नदी, धारा इत्यादिमा सेलाउनुपर्छ, अन्यथा ‘स्वर्गको बाटो’ मा बाधा आइलाग्छ भन्ने मान्यता स्थापित गरिएको छ । यसकारणले गर्दा पनि किरात राई समाजमा पुराना कागजपत्रहरू नष्ट भएछन् । उहाँले बताउनुभएको अर्को एउटा कारण पनि रोचक छ । धनकुटा भ्रमणका बखत राजा महेन्द्रले ‘ताम्रपत्र बुझाउनू, हामी हेरी तिमीहरूको हक अधिकार सुनिश्चित गर्छौं’ भनेर लिम्बूहरूलाई उर्दी लगाएका रहेछन् । त्यही क्रममा ताम्कुका राईहरूले पनि राजा महेन्द्रलाई ताम्रपत्र बुझाएछन् । तर, पदमबहादुर राईका पितापुर्खाहरूले चाहिँ स्वर्ग जाने प्रलोभन पनि अवज्ञा गरेछन्, राजा महेन्द्रको हुकुम पनि अवज्ञा गरेछन् ।

प्राप्त तीनमध्ये अटल रायको नामबाट जारी दुई कागजातमा लेखिएको छ –
कागजात १
स्वस्ति श्रीराजाभारासामर्थ
श्रीअटलजीत राये जीव
आगे श्री कदुमाफुफुकै हरिबोद्या षेत तीस् मुरी बीर्ताकै दीहल है आपना बीर्ता जानी जोतहु जोतावहु परम सुष भोग्या करहु इती स्मवत् १८२६ साल माहा ७ रोज मोकाम डी(ङ्)लाकोट सुभम्

कागजात २
स्वस्ति श्रीराजाभाराकसामर्थः
श्रीअटलजित राये जीव
स्वस्ति श्रीसाके १६९० श्रीसंवत् १८२५ मास फाल्गुन तद्दिने १० रोजः रयाल्या षेत बाधा असि मुरिको षेत सषा रुपया असि ८० नगदका जमान लाग्याका हः तस् वातका साछि श्री जित राया श्री प्रमानन्द राय श्री अमर्सिंह थापाका मार्फत् शुभं मुकाम लेगुवा (बायाँ छेउमा) सही श्रीवाद रायेले लिया

यी दुई कागजातलाई थुप्रै सन्दर्भबाट केलाउन सकिन्छ । तर, यसपटक तीन कोणबाट मात्र हेर्ने प्रयास गरिएको छ–
एक, अटलजित राय र चतमे राय ः इतिहास कागजपत्र र अभिलेखमा मात्र बाँचेको हुँदैन, सामाजिक स्मृतिमा पनि जीवन्त भइरहेको हुन्छ । फेरि लिखित प्रमाणहरूका अभावमा लामो समयपछि किंवदन्तीमा परिणत हुँदो रहेछ इतिहास । तर, किंवदन्ती नभइसकेका इतिहासका पात्र हुन् माझकिरातका अटल राय र चतमे राय ।
पश्चिम नेपालका मुकुन्द सेनका छोरा लोहाङसेनले १६ औं शातब्दीमा कोचे राजा विजयनारायणलाई हराएर मोरङ राज्य, समग्र पूर्वी पहाड र तराई विजय गरेका थिए । तर, उनको निधनपछि छोराहरूले अंशवण्डा गरी तीन राज्य खडा गरे (ज्ञानमणि नेपाल, नेपाल निरुक्त, २०४० ः पृ. २७८) । पल्लो किरात अर्थात् लिम्बुवान विजयपुर राज्यअन्तरगत पर्दथ्यो भने ओल्लो र माझकिरात भनिने भूभाग मकवानपुर राज्यअन्तर्गत थियो । राजा हेमकर्ण सेनले माझकिरातको प्रशासन सञ्चालनका लागि भाइ जगत् सेनलाई नियुक्त गरे । तर, माझकिरातका खम्बू (राई) हरूले जगत सेनलाई नै राजा बनाएर विसं १७९२ मा छुट्टै राज्य खडा गरे जसलाई चौदण्डी राज्य भनेर भनिन्छ । त्यो चौदण्डी राज्यको राजधानी उदयपुरको उत्तरी पहाडमा पर्ने चौदण्डी डाँडामा थियो ।
सेन राजाहरू चौदण्डीगढीमा बसेर मगरात (उदयपुरको मगर बस्ती), भावर र अम्बपुरका तलहट्टीमा शासन गर्थे भने खम्बू (राई) दीवान तथा चौतरियाहरू माझकिरातमा बसेर प्रशासन सञ्चालन गर्थे (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षीप्त जीवनी, २०६१, पृष्ठ ४१५) । उनै दिवान तथा चौतरियाहरूमध्ये हालको भोजपुर जिल्लाका थिए अटल राय, हालको खोटाङ जिल्लाका थिए चतमे राय । पृथ्वीनारायण शाहको सैनिक आक्रमणविरुद्ध उनै चतमे र अटल रायको नेतृत्वमा लडाइँ भएको थियो, जसले गर्दा माझकिरातमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहका सैनिकहरूलाई ५ महिना (विसं १८२९ भदौ–पुस) लागेको थियो (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१८) ।
खोटाङका सबै गढीहरूमा पराजित भएपछि खम्बूहरू हतुवागढीमा केन्द्रित हुन पुगे । उनीहरूबीच सरसल्लाह हुँदा अटल रायले भनेछन्, ‘आत्मसमर्पण गर्नुभन्दा म युद्धमा मर्नु बेस ठान्दछु ।’ उनलाई दह्रो साथ दिनेहरूमा खोटाङ हलेसीका चतमे चाम्लिङ (राय), खोटाङ चिसापानीका माने पुमा, नरवीर साम्पाङ र ओखलढुंगाका जगवीर कोयू थिए । तर, गोरखाली सेनाका बन्दुकका अगाडि धनुकाँडको केही नचलेपछि अटल र चतमे रायहरूले हतुवागढी छाडेर हिँडे । त्यसैले चतमे राय र अटल राय दुवैका शाखासन्तान अहिले भोजपुर र खोटाङ क्षेत्रमा पाइँदैन । युद्धमा पराजित भएपछि उनीहरू कोशी तरेर भारतको विहार पुगे । उनीहरूसँगै हिँडेका खम्बूहरू अहिले पनि ठूलो संख्यामा उत्तरी विहारको मधेपुरा र सुपौल जिल्लाको पनि उत्तरी भेगमा बसोबास गरिरहेका छन् । अटल रायका सन्तानहरू चाहिँ अहिले हाङपाछाका रूपमा चिनिन्छन् (विष्णु एस राई, खम्बुवानबाट हराएका सन्तानहरू, २०६७, पृष्ठ १६) ।
चतमे रायका बारेमा खासै लोकोक्तिहरू प्रकाशमा आएका छैनन् तर अटल रायबारे चाहिँ फुटकर सवाईहरू भोजपुर र धनकुटातिर प्रचलित छ –
भोजपुर क्षेत्रमा बान्तावा राईभाषामा प्रचलित लोकसवाई यस्तो छ :
नेपालायाङका ङेनची मबानाङा नाम बाखा टुङ्सा
मो एनुकी अटलकाजीओ अलावा लोङ्सा
अकमाआ सिरुखाया लोराखारालो कुमाङा ता
तोखोक तोखोक छुङ्सा ।।
प्वालोन्टाकि लोरा त अघुराङ धुङ्सा
अयावाचिआ लेगुवा घाटाया अखाट्टा हुङ्साहुङ्सा ।।

(नेपालबाट सेनाहरू आए आकाश धर्ती हल्लाउँदै त्यो सुनेर अटलकाजीको सातो गयो डरले दौडेर गई सिरुबारीमा लुक्दा त ख्वाक् ख्वाक् खोक्यो उठेर दौड्दा त घुँडा ठोक्कियो साथीहरूले लेगुवाघाटमा पर्खैंदैपर्खंदै लगे ।।)
(चन्द्रकुमार राई ‘हतुवाली’, भोजपुर जिल्लामा रहेको ऐतिहासिक हतुवागढीको वस्तुपरक तथ्य अध्ययन प्रतिवेदन, २०६८, पृष्ठ ११५) ।
त्यस्तै धनकुटा छिन्ताङतिर बान्तावा राईभाषामा प्रचलित लोकसवाई यस्तो छ –
अटले नु बडले लेगुवा नु फुङ्सा ।
पृथ्वीनारान बाना उक्टा धरती लुङ्सा ।।

(अटले र बडले लेगुवाबाट आयो ।
पृथ्वीनारान आउँदा धर्ती काम्यो ।।)
(अर्जुन माबुहाङ/भरत तुङघङ, हज्शन पाण्डुलिपिमा गोर्खा–खम्बुवान–लिम्बुवान युद्ध, २०७०, पृष्ठ ६६)
अटल राय र चतमे रायबारेमा नारायणहिटी राजदरबारनजिकै रहेको नारायण मन्दिरको पटाङ्गिनीको संवत् १८५० को कप्तान धोकलसिंह बस्न्यातको शिलालेखमा चर्चा गरिएको छ,, जसमा माझकिरात रावाखोलाका चतिम राय र पामाखोलाका अटल रायको नेतृत्वमा खम्बूहरूले पृथ्वीनारायण शाहका सेनाविरुद्ध लडाइँ लडेको उल्लेख छ (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१८, ४२८) । त्यसो भए के माझकिरातमा दुईवटा मात्र गढी थिए, जसको नेतृत्व चतमे र अटल रायले गर्थे ? त्यस्तो पनि होइन । उनीहरू त कुनै पनि गढीका शासक थिएनन् । त्यसो भए किन चतमे र अटल रायको नेतृत्वमा माझकिरातका खम्बूहरूले युद्ध लडे त ? योचाहिँ आजसम्म पनि नसुल्झिएको प्रश्न थियो, यी दुई कागजबाट खुलस्त हुन पुगेको छ ।
पहिलो कुरा, चौदण्डी राज्यको पहाडी प्रदेशको शासन सञ्चालन गर्न हतुवागढीमा शासनकेन्द्र कायम गरिएको थियो (ज्ञानमणि नेपाल, ऐजन, पृष्ठ २९२) । र, हालको भोजपुर जिल्लाको प्रशासन हेर्ने दीवान या चौतरिया थिए अटल राय । त्यही भएकाले अटल रायले जारी गरेका यी दुई कागजमा आफूलाई ‘राजाभारासामर्थ’ अर्थात् राजाको भार बोक्न समर्थका रूपमा उल्लेख गरेका हुन् । त्यो राजा भनेको चौदण्डीगढीका कर्ण सेन थिए । त्यस्तै अटल रायका कागजात दुई ठाउँबाट जारी भएका छन्– लेगुवा र दिङ्लाकोटबाट ।
लेगुवाचाहिँ हतुवागढीमा पर्छ तर दिङ्ला (डिंलाकोट) चाहिँ अर्कै गढी भएको स्थान हो । अटल राय हतुवागढीका मात्र राजा हुन्थे भने दिङ्लाबाट उनले कागज जारी गर्न सक्ने कुरै हुँदैनथ्यो । उनले समग्र भोजपुर क्षेत्रको प्रशासन हेर्ने भएकैले दिङ्लाबाट जारी गरिएका कागज फेला परेको हो ।
दोस्रो कुरा, चतमे रायबारे पनि यी दुई ऐतिहासिक कागजले अझ बढी खुलस्त हुन पुगेको छ । चतमे राय पनि हालको खोटाङ जिल्लाअन्तर्गत राजा कर्ण सेनको प्रशासन हेर्ने ‘राजाभारासामर्थ’ नै थिए । त्यही कारणले धोकलसिंह बस्न्यातले राखेको शिलालेखमा चतमे र अटल रायलाई समान हैसियतमा प्रस्तुत गरिएको हो । शिलालेखमा चतमे रायलाई रावाखोलाको भनिएको छ । यसको अर्थ उनी रावाखोलाका हुन् भन्ने होइन, बरु रावाखोला क्षेत्रमा सेन राजाहरूको प्रशासनको केन्द्र थियो, त्यसका प्रमुख चतमे राय थिए भन्ने हो । यसो भन्न सकिने दुईवटा आधार छन्— रावाखोला क्षेत्रमा धान उत्पादन हुने भएकाले सेन राजाहरूले ब्राह्मण, संन्यासी, क्षत्रीहरूलाई ठूलो परिमाणमा खेत कुशविर्ता दिएका थिए । आफ्ना विश्वासपात्रहरूको विशेष बस्ती रहेको त्यत्तिको उपयुक्त स्थानमा प्रशासनिक केन्द्र हुनु स्वाभाविकै हो । अझ बलियो आधारचाहिँ अटल रायसँगै भाग्ने क्रममा भारतको विहार पुगेका खम्बू राईहरूले बताइरहेको मौखिक इतिहास हो । बिहार पुगेका त्यतिबेला १४ वर्षका अटल रायका नाति गुमानसिंह राईले आफ्ना सन्तानहरूलाई बताएअनुसार चतमे चाम्लिङ हलेसीका थिए जसले पृथ्वीनारायण शाहविरुद्ध अन्तिम लडाइँ लड्ने अटल रायको प्रस्तावमा सबैभन्दा पहिला समर्थन गरेका थिए (विष्णु एस राई, ऐजन, पृष्ठ १६) । एउटा प्रवल सम्भावना के छ भने चतमे राय हलेसी गढीका प्रथम शासक होलैसुङका शाखासन्तान हुन् ।
दुई, स्थानीय स्वशासन : सेन राजाहरू आलंकारिक राजा मात्र हुन्थे, खास प्रशासन चाहिँ खम्बू दिवान र चौतरियाहरूले सञ्चालन गर्थे (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१५) । उनीहरूले प्रशासन हेर्ने थुम र गढीहरू त्यसबखत खोटाङ र भोजपुर क्षेत्रमा मात्रै पनि दुई दर्जनभन्दा बढी थिए । हालका ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, संखुवासभा, धनकुटा जिल्लामा गरेर त सयको हाराहारीमा थुम तथा गढीहरू थिए । ती गढीका स्थानीय ‘राजा’ खम्बूहरू हुन्थे (भोगीराज चाम्लिङ र तारामणि राई, किरात क्षेत्रका गढीहरू, २०७४) । यसबाट किरात क्षेत्रमा सेन शासनकालमा स्थानीय स्वशासनको अभ्यास थियो भन्ने देखिन्छ । अझ त्यस्तो स्वशासनको अभ्यास किरातहरूले लिच्छविकालदेखि नै गरिरहेका थिए भन्ने संकेत राजा मानदेवको विसं ५२२ को चाँगुनारायण अभिलेखलले गरेको छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, २०५३, पृष्ठ १६, ज्ञानमणि नेपाल, नेपालनिरुपण, पृष्ठ २८९) ।
तीन, धान खेती : अटल रायका यी दुवै ऐतिहासिक कागज खेत (षेत) सँग सम्बन्धित छन् । एउटाचाहिँ कदुमाफुफुलाई विर्ता दिइएको कागज हो, अर्कोचाहिँ असी मुरी धान उत्पादन हुने खेत असी रुपैयाँ (?) मा जमान (बन्धकी ?) गरिएको कागज हो । यसभन्दा अझ धेरै अगाडि राजा शुभ सेनले रावाखोला क्षेत्रमा विसं १७३१ मै ब्राह्मण, संन्यासी, क्षत्रीलाई खेत कुशविर्ता दिएको कागज फेला परेका कारण (पोखरेलको इतिहास, २०५७, पृष्ठ १३७) लिखित प्रमाणले माझकिरात क्षेत्रमा धान खेतीको इतिहास ३४५ वर्ष पुरानो बताउँछ । यसले अर्को के कुरा पनि संकेत गर्छ भने भोगचलन गरिरहेकै जग्गा विर्ता या कुशविर्ता दिइने भएकाले सेन राजाबाट विर्ता पाएर आर्य र खस समुदाय माझकिरातमा प्रवेश गर्नुभन्दा पहिले नै खम्बू (राई) हरूले धान खेती गर्थे ।

कोसेली

सम्बन्ध र संवेदनाका आख्यान

किताब
- जीवन क्षत्री

यो वर्ष रोअल्ड डाह्लका कथाहरू पढेपछि यतिका वर्षसम्म साहित्यको कथा विधालाई बेवास्ता गरेकोमा मलाई थकथकी लाग्यो । ‘पिग’ र ‘द भिजिटर’ जस्ता कथा पढेपछि लाग्यो– मानिसको संवेदनालाई यसरी हल्लाउने गरी कथा लेख्न सकिँदोरहेछ र कथाको अन्त्यलाई त्यति झंकारपूर्ण र स्मरणीय बनाउन सकिने रहेछ । यसरी कथा विधाप्रति गहिरो मोह जागेका बेला म दुर्गा कार्कीको कथा संग्रह ‘कुमारी प्रश्नहरू’ पढ्न बसें । पुस्तकबाट मेरो एउटै अपेक्षा थियो : फरक स्वादका पठनीय कथा ।
दुई दिनमा किताब पढिसिध्याएसँगै लाग्यो— संग्रहका हरेक कथा मानव संवेदनाका अन्तरकुन्तर छिरेर लेखिएका छन् । कथाहरूमा उपस्थित मुख्य पात्रहरू मनका पत्रपत्र खोलेर पाठकसामु हाजिर छन् । अनि ती संवेदनालाई उजागर गर्ने बलियो माध्यम बनाइएको छ– मानिसबीचका सम्बन्धलाई । सम्बन्धको उतारचढावसँगै तिनको मनोभावका अनेक रङ पनि आउँछन्, फिका हुन्छन् र हराउँछन् । 
प्रथम पुरुषमा भनिएका कथामा एकाधबाहेक कथा भन्ने पात्र महिला छन् । अक्सर सबैभन्दा बलियो उपस्थिति पनि तिनैको छ । तिनको माध्यमले केही कथाले यस्ता विषयवस्तुलाई उठाएका छन्, जसलाई न्याय गर्नु असाध्यै चुनौतीपूर्ण हुन्छ । त्यसमा पनि अनावश्यक रूपमा लेखकको विश्वास नथोपरी पात्रलाई सन्तुलित र अर्थपूर्ण कथा भन्न दिनु झनै ठूलो चुनौती हो । जस्तो कि, स्कुल पढ्दा शिक्षकसँग शारीरिक सम्पर्क राख्न पुगेकी किशोरीले वर्षौंपछि आफ्नो कथा कसरी भन्छे ? त्यो कथा उसबाट कुमारीत्व अपेक्षा गरेको उसको भावी पतिको भावना र संवेदनासित कसरी जोडिन्छ ? असमयमा र गलत संगतमा तोडिएको कुमारीत्वबारे अनेक कथा लेखिन्छन् तर कुमारीत्वको रक्षा गर्दा सम्बन्ध टुटेको तोडमा परेकी केटीका कथा कति लेखिएका होलान् ? 
त्यस्तै, आत्महत्याको संघारमा पुगेर धेरै मानिस फर्कन्छन् तर त्यस्ता कतिको भावनालाई तिनले आफैं लेखेझैं साहित्यमा उतार गर्न सकिन्छ ? महिलामाथिको यौनहिंसा केन्द्रित ‘मी–टु’ आन्दोलनमाथि अनेक कथा लेखिएका होलान् तर त्यसले सिर्जना गरेको माहोलमा गलत चित्रण हुने मानवीय भंगिमाका कथाहरू लेख्नु के सजिलो काम हो ? अनपेक्षित रूपमा आइलाग्ने मृत्युबारे पनि धेरै लेखिन्छ तर आवेशप्रेरित हत्याको लहरो समातेर उत्पीडन र हिंसाको जीवनकाल उतार्नु ?
लेखकले खासगरी प्रेम र यौनको विषय धेरै कथामा जसरी विस्तार र सन्तुलनसहित उठाएकी छन्, सायद नेपाली आख्यान लेखनमा त्यो उहिल्यैदेखि भइआउनुपर्ने कुरा थियो । संगीत र सिनेमामाझैं अहिले पनि सायद नेपाली आख्यान लेखनमा सबैभन्दा लोकप्रिय विषय रोमान्टिक प्रेम अनि प्रेमी–प्रेमिकाको सम्बन्ध होला । तर, प्रेम र सम्बन्धका अन्य आयामले अझै आवश्यक प्राथमिकता पाउन सकेका छ्रैनन् । कार्कीका कथामध्ये ‘चाउमिन’ बाउ–छोरी सम्बन्धको वरिपरि घुमेको छ भने अरू धेरै कथामा परिवारका सदस्यबीचका असामान्य अवस्थाका सम्बन्धसमेत चित्रित छन् । भर्खरकी युवतीको छिप्पिएको श्रीमान्सितको सम्बन्ध (पोइल) देखि कोमामा रहेको श्रीमान्सित जवान श्रीमतीको सम्बन्ध (मनमाया) ले बदलिँदो समाजमा बदलिँदै गरेका सम्बन्धहरूको झलक दिन्छन् । ती यस्ता सम्बन्ध हुन, जुन समाजमा कम संख्यामा भेटिन्छन् तर मानिसको मनोसामाजिक चरित्रबारे धेरै बोल्छन् ।
यी कथाको अर्को विशेषता के भने कथाअनुसार विषय, पात्र र परिवेश फरक भए पनि पुस्तकको पहिलो पृष्ठदेखि अन्तिमसम्म अविच्छिन्न रहने एउटा धागो छ : ‘मेलानकोली’ को । त्यसको भौतिक रूप छ पात्रलाई लुछुप्प भिजाउने आँसु । पढ्दै जाँदा त्यो मेलानकोली पात्रहरूको मात्रै होइन कि भन्ने प्रश्न पनि उठ्छ बेलाबेला । खासगरी अभावग्रस्त ग्रामीण जीवनका सधैंभरि दबाइएका महिला पात्रमा त्यस्तो भावना अस्वाभाविक पनि लाग्दैन । तर, त्यसको अर्थ कथाहरू निराशा र दुःखका एकनासे शृंखला हुन् भन्ने होइन । अक्सर उत्पन्न हुने विद्रोहभाव, कहिलेकाहीं व्यवहारमा प्रकट हुने विद्रोह, त्यसले व्यक्ति र परिवारको जीवनमा ल्याउने उथलपुथल अनि दशकौंपछि फर्केर हेर्दा देखिने त्यसको प्रभाव पनि कथामा प्रशस्त छन् । खुसी र सन्तुष्टिका मानवीय भावना पनि आवधिक रूपमा कथामा देखापर्छन्, वास्तविक जीवनमा झैं । 
सबैजसो कथाको अर्को साझा विशेषता– ग्रामीण जनजीवनको मिहिन चित्रण हो । समाजशास्त्री चैतन्य मिश्रका शब्दमा नेपालमा सहर गाउँ भित्रिँदै र गाउँ, सहर पस्दै गरेकाले अब गरिने गाउँका चित्रणले त्यस खाले परिवर्तनलाई पनि प्रतिविम्बित गर्नुपर्छ । धेरैजसो कथाले गायब हुँदै गरेको गाउँको पुरानो रूपलाई मिहिन रूपमा चित्रित गरे पनि लगभग सबै गाउँको चित्रणमा सहर वा मोबाइल फोनलगायत सहरी मानिने गरेका सुविधा जोडिएर आउँछन्, जुन स्वाभाविक लाग्छ ।
पुस्तक सिध्याइसकेपछि लाग्यो, लेखनको भावनात्मक पक्षले हरेक कथा र तिनका पात्रहरूलाई जीवित बनाउँछ, एकअर्कासँग जोड्छ र पुस्तक पढिसक्दा नेपाली समाजको एउटै बृहत् कथाका अनेक उपकथाहरू पढेको भान गराउँछ । त्यही भावका कारण हरेक कथामा आउने नयाँ पात्र कतै चिने चिनेजस्तो लाग्छ । नयाँ कथा पढ्दै जाँदा लाग्छ, मानिसको जुन जेलिएको भौतिक र मानसिक अस्तित्वबारे अघिल्लो कथा बोलेको थियो, यो कथाले पनि त्यही कथा बोल्नेछ । तर, यस्तो फरक कोणबाट बोल्नेछ कि यहाँ दुरूह यथार्थको बिलकुलै नयाँ पाटोमा प्रकाश पर्नेछ । 
सबैजसो कथामा समाजको पितृसत्ता बलियो पृष्ठभूमि बनेर बसेको छ । तर, सतहमा चाहिँ केही पात्र र घटनासित जोडिएर मात्रै त्यो प्रकट हुन्छ । पितृसत्ताविरुद्ध आवाज उठाउने पात्रहरूले बलियोसँग त्यसो गर्छन् तर समाजमा झैं त्यहाँ पनि त्यसको (अक्सर अप्रिय) परिणामबाट बच्न सक्दैनन् । तर, पुस्तकको अन्तिम कथा ‘संघार’ चाहिं मूल पात्र अनुराधाको विद्रोहसँगै टुंगिन्छ । सम्भवतः लेखकले अन्तिममा राखेको त्यो कथाले थप सांकेतिक अर्थ पनि राख्छ : हाम्रो समाज पनि अहिले संघारमा छ । यहाँ समाजलाई संघारको यतापट्टि नै राख्न चाहने र उतापट्टि धकेल्न चाहनेहरूबीच द्वन्द्व छ । तिनमा बेचैनी र अधीरता छ । तर, कति मानिस संक्रमणको यही अवधिलाई जस्ताको तस्तै स्विकारेर सन्तोषमय जीवन पनि बाँचिरहेका छन् । मधुरो रूपमा भए पनि त्यो कथामा लेखकको वैचारिक पक्षधरता प्रकट हुन्छ ।
चेखव, टल्सटाय वा टैगोरजस्ता कथा लेखनका हस्तीहरू अब हामीसँग छैनन् तर उनीहरूको बहिर्गमनपछि पनि विश्व साहित्यले अरू धेरै कुशाग्र कथाकार पाएको छ । तिनले कथा लेखनमा अनगिन्ती नयाँ प्रयोग गरेका छन् । समयसँगै कथा विधा झनै समृद्ध हुँदै पनि छ । त्यससँगै कथाजस्तो केही लेख्ने र त्यसको पहिलो ‘ड्राफ्ट’ सामाजिक सञ्जालमा प्रकाशित गरेर वाहवाही बटुलिहाल्ने मानिसहरूको भीड पनि छ । तर, निरन्तर साधना गरेर यो विधालाई नै फराकिलो पार्नेहरू नयाँ प्रविधिलाई सदुपयोग गर्न उत्तिकै माहिर छन् । भारतकी मेहक मिर्जा प्रभुले लोकप्रिय बनाएको मौखिक कथावाचन त्यस्तै एउटा प्रयोग हो । 
आख्यान लेखन यसरी गतिशील रहेको विश्व परिदृश्यमा हामी कहाँ छौं ? जहाँ छौं, त्यहाँबाट अघि बढ्न नेपालमा पढ्ने र लेख्ने दुवै जनसंख्याको गति तीव्र रूपले बढ्नु आवश्यक छ । दुर्गा कार्कीजस्ता नयाँ लेखकहरूले फरक स्वाद र सबलताका कथाहरू लिएर आउनु त्यसैले पनि खुसीको कुरा हो । 

Page 25
कोसेली

मिसन महाभोज

नाटक
- विप्लव प्रतीक

बाल्यकालमा स्कुल पढ्दा एउटा नाटकमा मुख्य भूमिका पाएको थिएँ । रिहर्सल एक महिना चल्यो । प्रदर्शन हुन पाएन । त्यसको धेरै वर्षपछि राष्ट्रिय नाचघरमा दाइ हरिप्रसाद रिमालले ‘श्रीकृष्ण चरित्र’ मा मुख्य भूमिका दिनुहुने भयो । त्यो नाटक कहिल्यै बनेन । अब भने नाटक खेल्ने लालसा जाग्यो । अनेक प्रयासपछि संगीतकार गणेशप्रसाद श्रेष्ठले बनाउनुभएको ‘निर्वाण मार्ग’ मा भूमिका पाइयो, मन्त्रीको । बडो सजिलो थियो, राजाको पछिपछि लागेर मञ्चमा आउने, ठिंग उभिने । राजाको संवाद सिद्धिएपछि लुरुलुरु राजाको पछि लागेर ब्याक स्टेजमा जाने । नाटक हेर्ने अभिलाषा रहिरहे पनि खेल्ने लालसाको लीला भने त्यहीँ टुंगियो ।
समय गुज्रिँदै गयो । म सिनेमा निर्माणतिर लागेँ । पत्रकारितामा प्रवेश गरेँ । समयको अन्तरालमा नाटकविमुख हुँदै गएँ म । नाटकमा सुनील पोखरेलको उदयपछि फेरि बौरियो नाटकमोह । म गुरुकुल नियमित जान्थेँ । अनुप बराल र सुनीलका नाटक हेरेपछि मैले नाटक र साहित्यको साइनो बडो गम्भीरतापूर्वक बुझ्न थालेँ । म कोठामा लेख्थेँ कविता, उनीहरू मञ्चन गर्थे कविता । एक्लै कविता कोर्नु र समूह मिलेर कविता लेख्नुको बडो महत्त्वपूर्ण अर्थ छ । यही क्रममा नाटक र नाट्यकर्मीहरूसँग कतिखेर माया बस्यो मलाई याद छैन । गुरुकुल गयो । नयाँ नाटकघरहरू आए ।
नयाँ नाटकघरमध्ये ‘मण्डला’ बाट मलाई एक दिन एउटा अवसर आयो । हिन्दुस्तानी साहित्यकार मन्नु भण्डारीको ‘महाभोज’ लाई अनुवाद गर्ने । नाट्यज्ञानी, साहित्यपारखी र कलाअनुरागी मेरा प्रिय भाई अनुपले सुझाएका थिए मेरो नाउँ । किन सुझाए उनै जानून् । नाटक मेरो प्राणवायुमध्ये एक हो । त्यसैले यो मेरा लागि महत्त्वको अवसर थियो । नाटकको झन् करिब पुग्ने अवसर । कुनै दिन आफैँले नाटक लेखेछु भने त्यसका लागि अभ्यासको योभन्दा अर्को सुयोग के हुन्थ्यो ?
दिनको आठ घण्टा काम गरेपछि एक महिनाभित्र नाटक उल्था मात्र भएन, त्यसलाई नेपाली समाज र समकालीन समय सान्दर्भिक बनाउन कतिपय ठाउँमा संवाद पुनर्गठन पनि भयो । अनुपले साढे तीन घण्टाको नाटकलाई दुई घण्टा पन्ध्र मिनेटको बनाउन उलटपुलट गरे, काँटछाँट गरे । नाटकको टेक्स्ट तयार भयो ।
त्यसपछि अनुपको अर्को प्रस्ताव आयो— नाटकको सुरु र अन्तिम अंकका लागि गीत लेखिदिने । त्यसबाहेक एक दृश्यपछि अर्को दृश्यमा जान सेतुका रूपमा गीत राख्ने विचार पनि फुरेछ उनलाई । तीनपटक पुनर्लेखनपछि पहिलो गीत तयार भयो, सेतु गीतहरूलाई खासै समय लागेन । किनभने कथा मेरो दिमागमा भर्खर कुँदिएको थियो । अन्तिम गीतका लागि पनि धेरै मिहिनेत गर्नुपरेन । निरंकुशताको विरोधमा जोसँग काँधमा काँध मिलाएर जुधेका थियौँ, तिनीहरू नै निरंकुश बन्न पुगेको शूल मनमा गहिरोसँग गढेको थियो । आहत हृदयबाट गीत फुर्न धेरै बेर लागेन ।
अब म छुट्टी मनाउने विचारमा थिएँ— कतै यात्रामा निस्किने र एक महिनापछि आएर नाटक हेर्ने । एक्ट वन सिद्धिएको थियो । तर, एक्ट टुमा हुने घटनाबारे बेखबर थिएँ म । अनुपले अर्को प्रस्ताव राखे— नाटकमा एकजना पात्रको भूमिका निर्वाह गर्ने । सातो गयो मेरो । संवाद कसरी कण्ठ पार्ने ? ब्लकिङ कसरी याद गर्ने ? कहिल्यै नगरेको काम गर्न सक्ने आँट ममा तुरुन्तै आएन । नाइँ भन्न नजान्ने मैले बडो मिहिनेत गर्नुपर्‍यो, अनुपसँग नाइँ भन्न ।
मैले पहिलो दिन नाइँ भनेँ । दोस्रो दिन फकाएँ । अनुपले टेरेनन् । रिहर्सल आधाउधी सिद्धिएताका अलि जोडले नाइँ भन्न पुगेछु अनुपलाई, ‘मैले अभिनय गर्दा अभिनयलाई हल्का रूपमा लिएको नहोला र ? कत्रो साधना र अभ्यास गर्नुपर्छ कलाकार बन्नलाई !’ उनले भने, ‘तपाईंले उल्था गर्नुभयो, गीत लेख्नुभयो । नाटकको प्रसेस त्यतिले बुझिँदैन । तपाईंले अहिले यो रोल गर्नुभयो भने प्रसेस बुझ्न पाउनुहुन्छ । अर्कोपल्ट मौका आउला नआउला ।’ मसँग उत्तर थिएन । नाइँनाइँकै बीचमा रिहर्सल गरिरहेँ, भनेको मानेजस्तो गर्ने र अन्तिममा आएर फुत्किने मेरो दाउ थियो । शोको दुई दिनअघि दिया मास्के कोरियोग्राफ गर्न आएकी थिइन् । मैले आशाको अन्तिम किरण देखेँ । ‘दिया, तिम्रो सोर्स लगाएर नाटकमा मलाई नखेलाउन अनुपलाई भनिदेऊ न प्लिज,’ मैले गुहारेँ । ‘मेरो अरू कुरा सुन्नुहोला तर, नाटक बनाउँदा एकपल्ट अनुप सरले निर्णय गरेपछि कसैको कुरा सुन्नुहुन्न । सरी,’ दियाको जवाफले म लल्याकलुलुक भएँ । अब मैले स्टेजमा उत्रिनुको विकल्प थिएन । धन्न, हरेक दिन संवाद रटिरहेको थिएँ ।
आखिर शोको दिन आयो । मैले आफ्नो काम त्यस दिनका लागि फत्ते गरेँ । कहीँ कुनै संवाद बिर्सिनँ । तर, अन्तिम संवाद बोलिसकेपछि खुट्टा लगलग काम्यो । ममा परेको बत्ती ननिभुन्जेल उभिनुपर्ने थियो । बडो यत्नले जति कामेको छ, त्यतिमै थुम्थुम्याएँ कम्पनलाई । पहिलो शो सिद्धियो । अब उनन्चालीस शो बाँकी थियो । एक जना साथीले पर्सिपल्ट फोनमा भन्यो, ‘तँ कवितैमा ठीक छस्, अभिनय नगर् ।’ डराएको मनलाई बल्लबल्ल थुम्थुम्याएको थिएँ, त्यसले अर्को अट्याक भेट्यो । म कलाकार बन्न खोजिरहेको थिइनँ, नाटकको प्रसेस बुझ्ने बाटोमा थिएँ । उसलाई मैले सम्झाउन सकिनँ । नाटकमा जान उत्साह मर्‍यो । तर, अचानक खेल्दिनँ भन्नु परिपक्व विचार लागेन मलाई । त्यसैले मैले साथीसँग भएको संवादलाई बल गरेर बिर्सिदिएँ । नाट्यात्रा जारी रह्यो । स्टेजभित्र छिर्दा मुटु ढुकढुक हुन्थ्यो । बिस्तारै हुन छाड्यो । संवाद बोल्न थाल्दा ढुकढुक हुन्थ्यो, त्यो पनि हुन छाड्यो । एक हप्ता बित्यो । मेरो भागमा छपल्ट बोल्नुपर्ने लामालामै संवादहरू थिए, एक दिन अन्तिम संवाद झ्याप्पै भुलेँ । रमेश बुढाथोकीजीले सम्हालिदिनुभयो । मैले संवाद बिर्सिएको उहाँले चाल पाउनुभएछ । त्योबाहेक सात दिनमा कुनै अनिष्ट भएन । सातौँ दिनको प्रदर्शनपछि मैले भाइ राजन खतिवडालाई भनेँ, ‘भाइ म सिकिस्त बिरामी भएँ भने त जगेडा आर्टिस्टलाई खेलाउँछौ होला नि !’ सदा विनम्र रहने राजन त्यस दिन केही कुराले अलि इरिटेट भएको थियो कि ‘दाइ यस्तो कुरा नगर्नुुस् है तपाईं अब’ भन्यो ।
भोलिपल्ट अप्रत्याशित कुरा भयो । मेरो स्वर सुक्यो । सासले मात्रै बोल्ने भएँ म । अझ कागजमा लेखेर कुरा गर्नुपर्लाजस्तो । मलाई लाग्यो चिठ्ठै पर्‍यो, म बिहानै मण्डला गएँ । मेरो हालत साउतीमा सुनाएँ । पहिलो खेप त सुन्नेले पत्याएन । अनुप स्याङ्जामा सुटिङ गर्दै थिए । चारैतिर हलचल मच्चिएको अवस्था थियो । म भने मख्ख थिएँ, अब काम गर्नु नपर्ने भयो । नयाँ कलाकार खोजिन्छ । उसले दुई–चार शो गरेपछि मैले अवकाश लिने अवसर पाउँछु ।
तर, सोचेजस्तो भएन । मेरो दृश्य भएको ठाउँलाई स्वाट्ट हटाएर नाटक देखाउने, म निको भएपछि, मैले नै आफ्नो रोललाई निरन्तरता दिनुपर्ने अनुपले निर्णय लिए । मैले नाटक खेल्नबाट फुत्किने मौका पाएँ भन्ठानेको त्यही मौकै पासो बन्न पुग्यो । सात दिनपछि म नाटक गर्न तयार भएँ, हुनुपर्‍यो । हरेक दिन अभ्यास गरेकाले संवादमा समस्या भएन । अर्को दिन गजब भयो, तेस्रो संवाद बोल्ने बेलामा ब्ल्याङ्क भयो दिमाग । भएभरको संवाद बिर्सिएँ । तर, एक सेकेन्ड पनि ढिलो नगरी नाटकमै नभएको संवाद अचानक मुखबाट फुस्कियो, ‘अचम्म छ बा’ । यो मैले आफैँप्रति गरेको प्रश्न थियो, गाली गरेको थिएँ आफैँलाई, संवाद बिर्सिएकोमा । तर, फेरि अर्को अचम्म भयो, भएभरको संवाद रिट्ठो नबिराईकन खरर्र दसम्झिएँ । ‘अचम्म छ बा’ भन्ने संवाद पनि मिल्न पनि पुगेको थियो संयोगवश । बडो आनन्द आयो त्यो दिन । तर, त्यसपछि मैले कुनै पनि शोमा ‘अचम्म छ बा’ भन्नुपरेन ।
रमाइलो के भने, हरेक दिन नौलोनौलो अनुभव हुन्थ्यो । त्यो सबै लेखेर यहाँ साध्य छैन । मैले बिर्सिनु नहुने के भने नाटकका अरू सारा कलाकारहरू मलाई दिनहुँ एनर्जी दिन्थे । ‘आज गज्जब गर्नुभो’, ‘आज कडा गयो है’ भन्नेजस्ता कम्प्लिमेन्ट दिन्थे । मेरा सबै सहकर्मीले मलाई लगाएको त्यो गुण मैले प्रसेस बुझ्न अनुपको प्रस्ताव नमानेको भए कहाँ अनुभव गर्न पाउँथेँ ? थियटरभित्र हुने सद्भावसँग कहाँ हुन्थ्यो मेरो साक्षात्कार ? अन्तिम चारवटा शो गर्ने बखतसम्म त ममा कहीँ नभएको आत्मविश्वास आइसकेको थियो । नाटक कहिल्यै नसिद्धियोस्जस्तो भइसकेको थियो । तर, के गर्नु, जे सुरु हुन्छ त्यसको अन्त्य निश्चित छ ।
‘महाभोज’ को यात्रा सिद्धियो । सबै आआफ्ना काममा व्यस्त भए । तर, केही महिनापछि अनपेक्षित खबर सुनेँ । भारत रङ महोत्सवमा सामेल हुन हाम्रो ‘महाभोज’ पनि छानिएछ । भारतीय नाट्य विद्यालयको आयोजनामा बर्सेनि हुने महोत्सव नाट्यकर्मीहरूको निम्ति तीर्थ हो । त्यहाँको रंगमञ्चमा नाटक देखाउन पाउनु रोमाञ्चक सपना हो नाट्यकर्मीका लागि । म फेरि संवाद रट्न थालेँ । अनुपको अगाडि रिहर्सल भयो । मैले जसरी बोल्दै आएको थिएँ, त्यो शैलीलाई उनले बदल्न लगाए । पहिले म खर्रर संवाद बोल्थेँ, शब्दको अर्थ खुल्ने गरी बोल्नुपर्दो रहेछ भन्ने कुरा पनि यही प्रसेसमा बुझ्ने मौका मिल्यो ।
पैँतीस जनाको जम्बो टोली जोगबनीबाट जाँदै थियौँ । यस मौकामा विराटनगरवासीलाई पनि यो नाटक हेर्नबाट किन वञ्चित गर्ने भनेर मण्डला र निर्देशकको मन मिलेछ । तीन शो भयो गुरुकुलमा । गन्तव्य दिल्ली थियो, त्यसपछि देहरादुन । लक्ष्यको चासो नराखी यात्राको आनन्दमा रमाउने मेरो मन पुलकित थियो । मानिसको जीवनमा रिवार्ड अनेक रूपमा आउँछ । ‘महाभोज’ को दिल्ली यात्रा मेरा लागि त्यस्तै रिवार्डमध्ये एक थियो ।
८ फेब्रुअरी २०२० मा हामी दिल्लीमा थियौँ, ९ तारिखको साँझ श्रीराम सेन्टरमा हाम्रो शो थियो । हामी सबै दिउँसै पुगेका थियौँ, सेट र रिहर्सलको काम सिध्याउन । त्यो भव्य भवन र अन्तर्राष्ट्रिय स्तरको अडिटोरियम, ग्रिन रुम र स्टेज देख्दा मन फक्रियो । र, तुरुन्तै ओइलायो पनि । हाम्रो राजधानी सम्झिएँ । कहीँ एउटा गतिलो हल छैन नाटकका लागि, कन्सर्टका लागि । सर्कस देखाउन बनेको एकेडेमीको हल, अप्ठ्यारो सिट भएको र बेढंगी तरिकाले बनेको राष्ट्रिय नाचघरका हलहरू र हल भन्ने नाउँ मात्र भएको राष्ट्रिय सभागृहको अनइन्जिनियर्ड अडिटोरियम आँखामा नाचे । भएको एउटा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हाम्रा गणतान्त्रिक नेताहरूले वर्षौँदेखि हड्पेर राखेका छन्, जहाँ पहिले कन्सर्ट पनि हुनेगर्थ्यो ।
नाटक सिद्धिएपछि प्रेक्षालयमा आउँदा सरप्राइज थियो मेरा लागि । राज्यसभा टेलिभिजनका टेलिभिजन प्रस्तोता सैयद इरफान हेर्न आएका रहेछन् । नाटकको उनले मुक्तकण्ठले प्रशंसा गरे । अनुप, दिया, राजन, म र मण्डला टिमका निम्ति उनीसँगको संवाद बडो प्रिय रह्यो । र, विशेष गरी म सधैं सम्झिनेछु दिल्लीमञ्चनलाई, किनभने कसमसले मलाई त्यस ठाउँमा बडो यादगार उपहार दियो– मेरो जन्मदिनको दिन ९ फेब्रुअरीमा म भारत रङ महोत्सव मनाउँदै थिएँ मेरा सहकर्मीहरूसँग श्रीराम सेन्टरमा ।
धन्यवाद अनुप, मलाई प्रसेस बुझ्न स्मरणीय अवसर दिएकोमा । बिर्सिन्छु कि भनेको दिनमा सब सम्झिने, आज बबाल गरेर देखाइदिन्छु भनेको दिनमा न्याउरो मुख लगाएर ब्याक स्टेजमा फर्किनुपर्ने र हरेक दिन नौलो ज्ञान फेला पर्ने के रहेछ यो नाटकको प्रसेस ? ममा बचेखुचेका अहंकार पखाल्नुपर्छ भन्ने चेत जगायो त्यो प्रसेसले । रहेका रहलपहल रिस रित्याउनुपर्छ भनेर सिकायो प्रसेसले । मभित्र गुँड लगाएको मायालाई झन् हुर्काउनुपर्छ भन्ने सुझायो प्रसेसले । सद्भाव, सामूहिक सहयोग र कलाकारबीच एकापसमा बाँडिने केयरिङ थप सिकाइदियो ‘महाभोज’ को यात्राले । नाटक मनोरञ्जन होइन भनेर थाहा थियो, नाटक चिन्तनको एउटा ‘टुल’ हो भन्ने पनि थाहा थियो । तर, पढेर पाएको सूचना थियो त्यो । परेर, प्रसेसमा छिरेर पाएको चाहिँ ज्ञान थियो ।
भोलिपल्ट हामी देहरादुन हिँड्यौ । अन्तिम शो जो गर्नु थियो । देहरादुनको थिएटर पनि उत्तिकै दामी थियो । आज यहाँ ‘महाभोज’ को अन्तिम प्रदर्शन हुनेछ । आजपछि फेरि महाभोज हुनेछैन यही समूहबाट । मनमा केही उदासी थियो, तर शोका निम्ति एनर्जी कायम राख्नु पनि जिम्मेवारी थियो । हामी सुरु भयौँ । पालो आयो मेरो स्टेज छिर्ने र आफ्नो भूमिका निर्वाह गर्ने । ठाउँपिच्छे फरक हुन्छन् मञ्च । फरक मञ्चमा फरक अनुभव हुन्छ । यहाँ मञ्चभित्र छिर्ने ठाउँमा लाइट दिन बिर्सेका रहेछन् । बल्लबल्ल ढोका फेला पारेँ । भित्र छिर्दा संवाद बोल्ने समय हुनै लागिसकेको थियो । हत्त न पत्त आफ्नो कुर्सीमा गएर बसेँ । लाइट आधा मात्रै पर्ने ठाउँमा कुर्सी हतारमा राखिएको रहेछ । अलि अप्ठ्यारो भयो । बत्ती बल्नेबित्तिकै संवाद सुरु गरेँ । दोस्रो संवाद बोल्नुपर्ने ठाउँमा बीचको संवाद बिर्सिएँ । त्यतिखेर चिन्तित हुने फुर्सद थिएन, हुँदैन । बिर्सेको संवादलाई मिलाएर बाँकी संवाद ठीकठीक बोलेर आफ्नो काम तमाम गरेँ । ब्याक स्टेजमा आएर लामो सास फेरेँ । हाम्रो ‘महाभोज’ सिद्धिएको थियो । तर, एकतान्त्रिक, प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक विभिन्न सरकारहरूबाट गरिब, उत्पीडित र निमुखाहरूले वर्षौँवर्षदेखि भोग्दै आएको उपेक्षा र विभेदको महाभोज चलिरहनेछ ।

कोसेली

ब्याडमिन्टनका ‘राजकुमार’

खेल
- पवन आचार्य

दार्चुला खलंगाका नारायण दाहाल आफ्नो समयका औसत खेलाडी थिए, ब्याडमिन्टनका । तीन छोरीपछि कान्छो सन्तानका रूपमा जन्मिएका छोरालाई उनले दाहाल परिवारको युवराज मानेर नाम दिए— प्रिन्स । उनै प्रिन्स अहिले ब्याडमिन्टनको जुनियरतर्फको विश्व वरीयतामा ७ औं स्थानमा उक्लिएका छन् । छोराले यत्रो सफलता तय गर्ला भन्ने उतिबेलै लागेको भए सायद नारायण र राजुमतीले कान्छाको नाम बादशाह नै जुराउँथे होलान् । हुन पनि इन्डिभिज्युअलतर्फ विश्व वरीयताको यो शीर्ष उचाइ नाप्ने प्रिन्स एक्ला खेलाडी हुन्, ‘ब्याडमिन्टनका बादशाह’ ।
वनको काँडालाई तिखार्न पर्दैन– प्रिन्स पनि वनकै काँडा भएर निक्लिए । ६० सालमा खलंगामा जन्मिएका प्रिन्स ६९ सालमा कृष्णमोहन स्मृति ब्याडमिन्टनमा सहभागिता जनाउन काठमाडौं आउँदा ९ वर्षका मात्रै थिए । खलंगामा बुबासँग ब्याडमिन्टन सिकेको भरमा उनले राष्ट्रिय प्रतियोगितामा त्यति राम्रो छाप छोड्न सकेनन् । पहिलो राउन्डमै पराजित भएर उनी खलंगा नै फर्किर्ए । तर, उनको मनमा ब्याडमिन्टनमा केही गर्ने अठोट बिस्तारै अंकुराउँदै थियो । ‘पहिलो खेलमै पराजित भएर फर्किंदा नरमाइलो लागेको थियो । मैले ब्याडमिन्टन खेल्नै नजानेजस्तो व्यवहार अरूले गर्दा मन दुःखी भयो । तर, बुबाले सम्झाउनुभयो,’ उनले भने ।
अर्को वर्ष प्रिन्सले पुष्पलाल स्मृति ब्याडमिन्टनमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरे । जुनियर स्पर्धाको सेमिफाइनलको स्पर्धामा पराजित भएपनि उनको प्रदर्शनले पुलिस स्कुलमा भर्ना हुने अवसर जुराइदियो । कक्षा ४ देखि ७ सम्म काभ्रेको साँगास्थित पुलिस स्कुलमा उनले पढाइ मात्रै होइन, ब्याडमिन्टन कौशल पनि तिखार्दै लगे । स्कुलमा पढ्दा उनी ब्याडमिन्टनका अलावा बास्केटबल पनि खेल्थे । तर, प्रशिक्षक पूर्ण थापाले ब्याडमिन्टनप्रतिको उनको लगावलाई देखेर बास्केटबलको लत छुटाए । स्कुलमै रहँदा प्रिन्सले १४, १६ र १९ वर्षमुनिका प्रतियोगितामा आफूलाई प्रमाणित गर्दै लगे । हिमालयन स्कुल च्याम्पियनसिप, जुनियर राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि बल्ल यिनमा हौसला पलायो ।
तर, सन् २०१६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भारतको पूणे पुगेका प्रिन्स दाहालसँगै ८ नेपाली खेलाडी छनोट चरणबाटै बाहिरिए । भारतमा प्रतिस्पर्धा गर्नका लागि काठमाडौंमा आयोजना भएको छनोट स्पर्धामा यिनी आठौं नम्बरमा छानिए । त्यतिबेला यिनलाई आफू त ब्याडमिन्टनको अनाडीजस्तो भान भएछ । भन्छन्, ‘खेल्नै नजानेजस्तो भएर स्ट्रेट सेटमा हार्नुपर्दा निकै नरमाइलो लाग्यो ।’ तर, २०१७ मा सोही प्रतियोगितामा छनोट चरण पार गरेर मुख्य प्रतियोगितासम्म पुग्नु नै यिनको सफलता भयो । गएको वर्ष भने यिनी प्रि–क्वार्टरफाइनलसम्म पुगे । हरेक वर्ष सफलताको सिंढी उक्लिँदै गरेका प्रिन्सलाई एक दिन सो प्रतियोगिताको च्याम्पियन बन्ने धोको छ । जुन अझै मरेको छैन ।
प्रिन्सले १५ वर्षमुनिको स्पर्धामा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । म्यानमार र भारतमा हासिल गरेको अनुभवले उनको प्रतिभा तिखार्ने काम मात्रै गरेन, आत्मविश्वास पनि बढाइदियो । त्यसको जगमा उनले सन् २०१८ मा दुबई इन्टरनेसनल सिरिजको १५ वर्षमुनिको स्पर्धामा पहिलो स्थान हात पारे । गत वर्ष उनले १९ वर्षमुनिको स्पर्धामा भारतका वरुण कपुरलाई हराउँदै स्वर्ण जिते । त्यतिबेला वरुण विश्व वरीयताको नवौं स्थानमा थिए । एकपछि अर्को सफलता हात पारेका प्रिन्स त्यसपछि जुनियरको विश्व वरीयतामा अट्न थाले । त्यसअघि ३२ औं स्थानमा रहेका प्रिन्स १४ औं हुँदै हाल सातौंमा छन् ।
प्रिन्सले पछिल्लो केही वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । यसै महिना दुई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितामा उनले प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । प्रिन्सले डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा गर्दा ७ खेलमा ५ जित र दुई हारको नतिजा निकालेका हुन् । डच जुनियर इन्टरनेसनलमा प्रिन्सले ३ खेल खेल्दा २ मा जित र एक हार बेहोरे । जर्मन सिरिजमा ४ खेलमा प्रिन्सले ३ जित र १ हारको नतिजा निकाले । त्यसपछि यिनको वरीयतामा लोभलाग्दो सुधार भएको हो ।
सन् २०१९ मै थाइल्यान्डमा भएको योनेक्स सिंघा रोजा जुनियर इन्टरनेसनलमा यिनी दोस्रा भए । सो प्रतियोगिता हेर्न यिनको साथमा आमा राजुमती पनि बैंकक पुगेकी थिइन् । आमाको अगाडि फाइनलमा हार्दा नमज्जा लागेको क्षण प्रिन्सले भुलेका छैनन् ।
प्रिन्सका आदर्श खेलाडी लिन डान हुन् । चीनका लागि २ पटक ओलम्पिक मेडल र ५ पटक विश्व च्याम्पियनसिप जितेका लिन डानजस्तै कम्तीमा जुनियर ओलम्पिकमा नेपाललाई पदक दिलाउने प्रिन्सको लक्ष्य छ । सन् २०२१ मा हुने जुनियर ओलम्पिकमा छनोट चरण पार गर्दै नेपाललाई पदक दिलाउने योजनामा उनी छन् । शीर्ष १०० मा अटाउनेले बिना वाइल्डकार्ड प्रतिस्पर्धा गर्न पाउने हुँदा प्रिन्स त्यसमा नपर्ने कुरै छैन ।
नेपालमा यिनलाई मन पर्ने खेलाडी रत्नजित तामाङ हुन् । आठौं राष्ट्रिय खेलकुदमा यिनले आफ्नै आदर्श रत्नजितलाई माथ खुवाइदिए । त्यसपछि रत्नजितले दिएको प्रतिक्रिया यिनले अझै भुलेका छैनन् । मुस्कुराउँदै यिनले सुनाए, ‘मसँग हारेपछि रत्न दाइले आएर बधाई दिनुभयो । नेपालबाट ब्याडमिन्टनमा अन्तर्राष्ट्रिय पदक जित्ने अब तँ नै होस् । राम्ररी खेल्नू । अझै प्रगति गर्नू ।’
नख्खुको बुल्स क्लबमा ब्याडमिन्टनसँगै फिटनेसको पनि ट्रेनिङ गर्ने प्रिन्सका गुरु कृष्ण पुन हुन् । गुरुले जुनसुकै समयमा पनि ट्रेनिङको व्यवस्था मिलाएपछि पढाइ र प्रशिक्षणको मेलोमेसो मिलाउन सहज भएको छ अचेल उनलाई । फुर्सद खासै हुन्न प्रिन्सलाई । विश्व वरीयताको सातौं स्थानमा उक्लिएपछि सम्मान थाप्ने क्रमको व्यस्तता बढेको छ ।
विदेश गएका बेला पनि यिनी नयाँनयाँ बाइक र कार अगाडि उभिएर फोटो खिच्न रुचाउँछन् । मामा कमलेश निरौला जो यिनका म्यानेजर पनि हुन्, उनैले भान्जालाई लाइसेन्स नलिएसम्म मोटरसाइकल कुदाउन नदिएका हुन् । तर, मामाको आँखा छलेर र कहिलेकाहीं दार्चुला पुगेका बेला यिनी मोटरसाइकलमा सवार हुन्छन् ।
१३ औं सागका कांश्यपदक विजेता प्रिन्सले त्यसपछि आयोजित प्रेसिडेन्ट कप नेपाल इन्टरनेसनल सिरिजमा पुरुष एकल र डबल्समा दोस्रो स्थान हासिल गरे । उनलाई पनि इन्डिभिज्युल स्पर्धा बढी मन पर्छ । भन्छन्, ‘अरूसँग तालमेल गर्नुपर्ने अवस्था आउँदा आफूले मात्रै उत्कृष्ट प्रदर्शन गरेर हुन्न । अरूमा पनि निर्भर हुनुपर्ने भएपछि त्यति मजा पनि आउँदैन ।’
प्रिन्सको अबको लक्ष्य भनेकै बुबाले खेलाडीका रूपमा देशलाई दिलाउन नसकेको ठूलो अन्तर्राष्ट्रिय पदक भित्राउने हो । हुन त बुबा नारायण त्यति कहलिएका खेलाडी थिएनन् । अहिले भने, उनी प्रिन्स दाहालको बुबाका रूपमा कहलिन थालेका छन् । 

Page 26
कोसेली

जो जीवनभर मातिरहे

- श्रवण मुकारुङ

ईश्वर वल्लभ , (१९९४ असार २८–२०६४ चैत ९)

समीक्षकहरूले ईश्वर वल्लभलाई नौलो भाषा तर आम पाठकका लागि दुर्बोध्य कविता लेख्ने कवि देखे । तर, वल्लभसँग दुई दशक संगत गरेका कवि श्रवण मुकारूङ उनलाई ‘भित्रैदेखिका कोमल, पग्लिजाने हृदयका मानिस’ ठान्छन् । वल्लभको १२ औं स्मृति दिवसका सन्दर्भमा श्रवणले उनलाई यसरी सम्झिए :

 

विसं १९९४ असार २८ गते, जैसीदेवल काठमाडौंमा पिता पं. मुरलीधर भट्टराई र माता राममायाको कोखबाट ज्येष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका प्रसिद्ध कवि ईश्वर वल्लभको निधन २०६४ चैत ९ गते काठमाडौंमा भएको थियो । कवितासंग्रह– ‘आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्’, ‘समानान्तर’, ‘कश्मै देवाय’, ‘एउटा सहरको किनारा, धूवाँको जंगल’ । निबन्धसंग्रह– ‘केही भूमिकाहरू’, ‘सोचको मायामठ’ । कथासंग्रह– ‘नीलो माटो’ । सम्पादन– ‘फूल पात पत्कर’, ‘टुकी’ आदिका स्रष्टा/सम्पादक वल्लभका बारेमा लेख्न खोज्दा उहाँसित जोडिएका कथा (मिथक) हरूको चर्चा नगरी उक्त लेखन पूर्ण हुनेछैन ।
मिथक सम्पूर्ण सत्य होइन तर सत्य पहिल्याउने भरपर्दो बाटो हो, विश्वास हो । तिनै विश्वासहरूको एकीकृत रूप नै फेरि जीवनको विशिष्ट परिभाषा हो । त्यसैले उहाँसित सम्बन्धित यी मिथकीय केही प्रसंगहरू यहाँ उल्लेख गरिएको छ :

कथा ‘क’
गोरखाबाट काठमाडौँ पसेका पं. मुरलीधर भट्टराई धुरन्धर पुराणवाचक थिए । तिनले यति प्रभावकारी ढंगले पुराण वाचन गर्थे कि एकचित्तले सुनिरहेका भक्तजनहरू धर्धरी रुन थाल्थे । तर, आधाजसो भक्तजन भने मुख छोपेर खिल्खिलाउँदै मरीमरी हाँसिरहेका हुन्थे । रोइरहेका भक्तजनहरू प्रायः वृद्धवृद्धा हुन्थे भने हाँसिरहेका भक्तजनहरू युवायुवती हुन्थे, यस्तो अवस्था सिर्जना हुनुको कारण के थियो भने बेसासनमा बसेर प्रवचन दिनथालेपछि पं. मुरलीधर भट्टराई आफ्नो शरीरमा बेरेको धोतीले ठाउँ छोडेको पत्तै पाउँदैनथे ।

कथा ‘ख’
पं. मुरलीधर भट्टराईले जब पुराणभित्र राणा शासनविरोधी कथ्यहरूको विनिर्माण गर्न थाले तब यो कुरा एक कान दुई कान मैदान हुँदै दरबार पुग्यो । उनीसहित थुप्रै प्रजातन्त्रप्रेमी जेल परे । चारजना त सहिद नै भए । भनिन्छ— ब्राह्मण नभएका भए उनी पनि पाँचौँ नम्बरका सहिद हुन्थे ।
पं. भट्टराईले आफूभन्दा तथाकथित सानो जात (नेवार समुदाय) की राममायासित विवाह गरेर सामाजिक जोखिम उठाएका थिए, जसको कोखबाट तीन भाइ छोरा जन्मिए । ती नाबालक छँदै पण्डित जेल परे । राममायाले समाज, गरिबी र बच्चाहरूको भोकसित ठूलो संघर्ष गर्नुपर्‍यो । यहीबखत पण्डितकी आमाको निधन भएकाले काजकिरिया गर्ने निहुँमा मुरलीधर जेलबाट छुटे तर उनले आफ्नी श्रीमती राममायाको संघर्ष, समर्पण र विश्वासलाई नजरअन्दाज गर्दै सौता पो हालिदिए ।

कथा ‘ग’
एक दिन काठमाडौंको सडकमा श्री ३ जुद्धशमसेर बग्गी चढेर सवार भइरहेका थिए, राममायाले त्यो देखिन् । उनले आफ्नो पिठ्युँ, काख र झुत्रो साडीमा झुन्डिरहेका असहाय नाबालक छोराहरूसहित हात जोड्दै न्यायको याचना गरिन् तर श्री ३ ले केहीबेर उनको शरीरभरि क्वारक्वार्ती हेरेपछि भने– ‘जवानै रैछेस्, पोइला जा !’ ‘राजा’ को यस्तो आपत्तिजनक आदेश र लोग्नेको धोका, अपमान र अन्याय सहन नसकी खुकुरीले सेरिएर राममायाले आत्महत्या गरिन् । भर्खर तेह्र वर्ष लागेका जेठा छोरा ईश्वर वल्लभले आफ्नी आमाको रगत लागेको खुकुरी पखाले । भुइँ र सँघार धोए । माइला भाइको पहिल्यै मृत्यु भइसकेको थियो । कान्छा भाइ विश्व वल्लभको कलिलो पाउलाई सुम्सुम्याइरहेको आमाको बाँकी रगत पनि उनले पुछे । त्यसपछि ईश्वर वल्लभ गोरखपुर, इलाहावाद, बनारस, पटना, सर्लाही मलंगवा हुँदै अन्ततः दार्जिलिङ पुगे, जहाँ उनको भेट इन्द्रबहादुर राई, बैरागी काइँला, अमर गुरुङ आदिसित भयो । अब उनले उतै साहित्यिक आन्दोलन चर्काए । उतैबाट मुक्ति, स्वतन्त्रता र प्रजातन्त्रको शंखघोष गरे । उतै घरजम बसाए । यसरी आफ्नो संघर्षमय जीवनको महत्त्वपूर्ण समय दार्जिलिङमा बिताएर २०२७ सालमा सपरिवार सधैँका लागि काठमाडौँ फर्किए ।
म एउटा कुरा सोच्न थालेको छु,
म आकाश सोच्न थालेको छु,
म बतास सोच्न थालेको छु,
म खोला सोच्न थालेको छु,
म बकैना सोच्न थालेको छु,
(म नेपाल सोच्न थालेको छु) बाट

मार्क सोरर भन्ने अमेरिकी विद्वान्ले मिथकलाई ‘सामान्य जीवनका तथ्यलाई दार्शनिक अर्थ दिने एउटा बृहत् नियन्त्रक विम्ब’ भनेका छन् । त्यसैगरी नित्सेले– ‘असीमतर्फको सार्वभौम भावना र सत्यको विलक्षण रूप’ भनेका छन् । त्यसैले माथि उल्लिखित कथा (मिथक) हरूको अध्ययनबिना कविवर ईश्वर वल्लभको सम्पूर्ण व्यक्तित्व थाहा हुन्छ भन्ने मलाई लाग्दैन ।
२०४५ सालको सेरोफेरोमा मैले उहाँलाई पहिलोपल्ट भेट्दा मसित माथि वर्णित कथाहरू थिएनन् । तर, त्यसबेला तीसको दशकमै लोकप्रियताले सीमा नाघेका उहाँद्वारा रचित दर्जनौँ गीत सुनेर मभित्र तयार भएको उहाँको विराट तर गम्भीर विम्ब भने थियो । ‘दुइटा फूल देउरालीमा सँगै राख्यौँ जस्तो लाग्छ’, ‘मेरो बेहोसी आज मेरो लागि पर्दा भो’, ‘हजार सपनाहरूको माया लागेर आउँछ’, ‘यो कस्तो व्यथा हो’, ‘यो जिन्दगीको के कुरा’, ‘मलाई यो जिन्दगी लाग्दछ’, ‘पहाडको उकालीलाई मैले माया गरेजस्तो’ आदि गीतहरू मलाई कण्ठस्तै आउँथे । अझ, नारायणगोपालले आफ्नै संगीतमा गाउनुभएको पूर्वेली लोकगीत संगिनीको लयमा आधारित ‘दुइटा फूल देउरालीमा...’ को जबर्जस्त प्रभावले नै होला मभित्र उहाँको विम्ब एक असफल तर भव्य प्रेमीको जस्तो तयार थियो । त्यही विम्ब बोकेर म त्यसबेला बबरमहलस्थित उहाँको निवासमा पुगेको थिएँ ।
यो जिन्दगीको के कुरा
यो सपना हो र के कुरा
मेरो गीतको पनि के कुरा
तिम्रो प्रीतको पनि के कुरा

पहिलोपल्ट जब मैले उहाँलाई भेटेँ, अहो ! अघिदेखि रिसाइरहेका जस्ता आँखा । कल्पनातीत साधु निधार तर चाउरी पर्दै गएका गाला । सेताम्मे फुलेका कपाल, सुक्खा ओठ तर बालसुलभ मुस्कान । मन र मस्तिष्क दुवैमा अनेकौँ विरोधाभास, विस्मय र उत्तेजनाहरू ओहोरदोहोर गरिरहेजस्तो । पीडाहरू भित्र कतै दबिइरहे जस्तो ! डराउँदै मैले नमस्कार गरेँ, उहाँले नजिकै बस्न इसारा गर्नु भो । मधुरो स्वरमा मैले आफ्नो परिचय दिएँ, उहाँले नमुस्कुराई मुन्टो हल्लाउनु भो । अड्की–अड्की मैले उहाँको गीतहरूको फ्यान भएको बताएँ, उहाँले फेरि मात्र मुन्टो हल्लाउनु भो । यत्तिकैमा चिया आइपुग्यो । तब, चियाको चुस्कीसँगै उहाँको अविराम प्रवचन सुरु भो । थाहै नपाई झन्डै एक घण्टा बितेछ तर मैले छेउ टुप्पो केही बुझिनँ । यद्यपि उहाँको प्रवचनमा एउटा गति थियो । एउटा रस थियो । एउटा लय थियो । एउटा नसा थियो, जसभित्र बजिरहेको बिनको धुनअघि सर्पझैँ म लठ्ठिरहेको थिएँ । त्योबेला मैले उहाँका ती कुरा नबुझे पनि अहिले सोच्छु— त्यहाँ सायद ब्रह्माण्डको तत्त्व मीमांसा भएको थियो होला अथवा तेस्रो आयामको बृहत् व्याख्या भएको थियो होला । कि कार्ल मार्क्स, बुद्ध, गान्धी, कामु, सार्त्र, फ्रायड वा पिकासो, डाली, टीएस इलियट, मोजार्ड, विथोवेन, शंकराचार्य, रिम्पोछे, जे. कृष्णमूर्ति, रोँलाबार्थ, ज्याक डेरिडा हुँदै स्टिफन हकिङसम्मका कुरा भएका थिए कि ? तर, त्यसदिन मलाई जीवनमै पहिलोपटक आफू अज्ञानताको ठूलै गुफाभित्र रहेछु भन्ने बोध भएको थियो । एकप्रकारको हीनता, छट्पटी वा पीडाले घेरिएँ म । मैले तत्काल हात जोडेर बिदा मागेँ । एउटा प्रतिष्ठित कविको अनौपचारिक भाषा पनि बुझ्न नसक्नेले किन कवि हुन खोज्नु ? धेरै दिन ग्लानीले रन्थनिएँ म । तर, मानिसलाई उसको अज्ञानताको बोधले नै पो खास बाटो देखाउने हो कि ? अब म ईश्वर वल्लभको भाषा कसरी बुझ्ने भन्ने उपाय खोज्न थालेँ । सहरका पुस्तक पसल, प्रकाशन गृह, पुस्तकालयहरू चहार्न थालेँ । उहाँको अप्राप्य कृतिहरू चार चौरास धुइँपताल खोजेर पढ्न थालेँ । कति बुझेँ, कति बुझिनँ ।
तेस्रो आयामअघिका ईश्वर वल्लभ, पछिका ईश्वर वल्लभ ! गीतकार ईश्वर वल्लभ, कथाकार ईश्वर वल्लभ, निबन्धकार ईश्वर वल्लभ, सम्पादक ईश्वर वल्लभ, प्रखर वक्ता र चिन्तक ईश्वर वल्लभ । थाहै नपाई आधा दशक बितिसकेछ । हाम्रो दोस्रो भेट कहिले भयो, हेक्का छैन । तर, यतिबेलासम्म म यो राजधानीमा अरू अनुज कवि लेखकले झैँ उहाँलाई लुम्रुङलुम्रुङ पछ्याउने पो भइसकेछु । यही बेला उहाँले मेरो पहिलो गीतीसंग्रह ‘हिउँको दरबार’ माथि गहकिलो भूमिका लेखिदिनुभयो, जुन भूमिका मेरो पुस्ताका साथीहरूमाझ चर्चित नै भयो । यो २०५२ सालतिरको घटना थियो ।
संगत गरेपछि मात्रै मानिसलाई सही ढंगले चिन्न सकिन्छ कि ? दाइसित संगत बाक्लिएपछि पो थाहा भो परबाट हेर्दा अहंकार र लघुताभास, प्रतिशोध र करुणाले क्षण–क्षण उद्वेलित भइरहेजस्ता देखिने उहाँ त भित्रैदेखि सार्‍है कोमल, पग्लिजाने हृदयको मानिस पो हुनुहुँदो रहेछ । युवा पुस्तालाई असाध्यै स्नेह गर्ने, तिनैसित उठबस गर्न मन पराउने दिलफेक प्रतिभा पो हुनुहुँदो रहेछ ।
एकदिनको कुरा हो, माइतीघर मण्डलाछेउ सँगै हिँड्दै गर्दा उहाँले मलाई अचानक सोध्नुभो, ‘भाइ ! तपाईंले मोती पुरस्कार पाउनुभो ?’ मैले– ‘छैन दाइ’ भनेँ । केहीबेरको मौन हिँडाइपछि फेरि उहाँले सोध्नुभो– ‘बायोडाटा बुझाउनुभएको छ कि छैन ?’ मैले उहाँको अनुहारमा हेर्दै भनेँ, ‘छैन त दाइ !’ त्यसपछि थोरै हाँस्दै उहाँले भन्नुभो, ‘घोडी घाँस से दोस्ती करेगी तो खाएगी क्या ?’ नबुझेर मैले उहाँलाई केहीबेर त्यसै हेरेँ । मेरो कुममा धाप मार्दै फेरि उहाँले भन्नुभो– ‘तपार्इं कतै जागिर खानुहुन्न । कुनै व्यापार व्यवसाय पनि छैन । तपाईंको सबथोक भनेको नै साहित्य हो, कविता हो भने यसबाट प्राप्त हुने कुरा मात्रै तपाईंको हो । अर्को क्षेत्रमा त तपाईंको हकदाबी लाग्दैन । त्यसैले यो क्षेत्रबाट प्राप्त गर्न सकिने राज्यका हरकुरा लडेर लिने प्रयत्न गर्नुपर्छ । यदि यसो गर्नुभएन भने तपाईं कुनै न कुनै दिन भोकै पर्नुहुनेछ । कुरो बुझ्नु भो भाइ ? तर, चाकरी चाप्लुसी गरेरचाहिँ लिनुहुन्न नि ! लडेर लिनुपर्छ ।’ म फेरि अवाक् भएँ । त्यही दिनदेखि मैले साहित्य स्वान्तसुखायःका लागि हो भन्ने धारणालाई अविश्वास गर्न थालेँ । पछि थाहा भो– उहाँ त्यो सालको मोती पुरस्कारका निर्णायक हुनुहुँदो रहेछ । सायद त्यसको तीन सालपछि मात्रै मैले सो पुरस्कार पाएँ ।
दार्जिलिङबाट प्रकाशित हुने ‘दियालो’ नामक पत्रिकामा विसं २०१२ सालमा ‘म के हुँ’ भन्ने कविता छपाएर आफ्नो काव्य यात्रा सुरु गर्नुभएका ईश्वर वल्लभका कविताहरू प्रारम्भमा स्वच्छन्दतावादी प्रवृत्तिका थिए । जब तेस्रो आयाम (२०२०) घोषणा भयो, तब उहाँका रचनाहरूलाई त्यही अवधारणाअन्तर्गत हेर्न, पर्गेल्न थालियो । तेस्रो आयाम मूलतः कसरी लेख्ने ? भन्ने प्रश्नको उत्तरको खोजीमा सुरु भएको साहित्यिक आन्दोलन थियो, जसले मिथकीय विम्बदेखि त्यतिबेला चित्रकलामा चलेका अमूर्त तथा घनवादी शैली अँगालेको थियो, जसका आधारमा इन्द्रबहादुर राईले कथा, ईश्वर वल्लभ र बैरागी काइँलाले कविता लेख्नुभएको थियो । आन्दोलनको उद्घोषणामै वल्लभले– ‘आयतन जिन्दगी’ र ‘बन्द कुहिरोमा नानीका पाइला’ कविता लेख्नुभएको थियो ।
कवितामा वल्लभ दाइले जीवनलाई परम्पराभन्दा भिन्न ढंगले व्याख्या गर्दै अमूर्तताभित्र वस्तुता र सम्पूर्णताको खोजी गर्नुभयो । मानवीय जीवनका जटिलता, विवशता, विषमता, अस्तव्यस्तता आदिलाई अभिव्यञ्जित गर्न इतिहास, पुराण, दन्त्यकथा आदिबाट तात्क्षणिकता बहन गर्ने खालका विम्ब, प्रतीकका साथै चित्रात्मक र विचलनयुक्त भाषिक विन्यासको प्रयोग गर्नुभयो, जसका कारण उहाँका कविताको भाषा नौलो तर आम पाठकका लागि दुर्बोध्य भइदियो । यति हुँदाहुँदै पनि आनुप्रासिक संयोजन एवम् समानान्तरताको बहुप्रयोगका कारण उहाँका कविताहरू अत्यन्तै लयात्मक र सांगीतिक गुणले अनुप्राणित भए ।
नेपाली काव्यजगत्मा स्वच्छन्दतावादी धारालाई पुरानो बनाउन कवितालाई नयाँ भाषा दिने ईश्वर वल्लभका कविताको अन्तर्ध्वनि भने उहाँकी आमाले गरेको आत्महत्याको परावर्तन नै हो जस्तो लाग्छ, जसको धङ्धङीले सायद उहाँ जीवनभर मातिरहनुभयो । त्यसैले यो देशलाई माया गर्दागर्दै पनि यहाँका खोलानाला, फूल, पहाड, हिमाल, मैदान र मानिस सबै उहाँका कविता र गीतमा सधैं आँसुले, विषादले रुझिरहे, भिजिरहे । सधैँ देशसित प्रेम, प्रतिप्रेम र घृणाका अन्तर्विरोधमा उहाँका शब्दहरू जुहारी खेलिरहे ।
आत्महत्या, कहिले फूलको कोपिला जस्तो
फूल भएर फक्रिन चाहन्छ
आत्महत्या, कहिले विशाल गगानचुम्बी
भवनहरू भएर उभिन चाहन्छ
आत्महत्या, कहिले ठूलो पहिरो भएर जान
चाहन्छ
आत्महत्या, कहिले सडकभरि ओच्छिन
चाहन्छ
आत्महत्या, कहिले क्यानभासमा रातो
भएर पोतिन चाहन्छ
आत्महत्या, महान् लहर भएर सागरमा
बहकिन चाहन्छ
आत्महत्या, यहाँ जसले पनि जहिले पनि
हुन चाहन्छ
आत्महत्या, तिम्रो बुइँगलको सिलिङमा
कहीँ सिउँरिएको छ
‘मेरी आमाले आत्महत्या गरेको देश’ बाट

माथिको लामो संरचनाको भव्य कविता उहाँलाई चिनाउने प्रतिनिधि कविता हो । यही कविता पर्गेल्न उहाँकी आमाले आत्महत्या गर्नुपरेको कथा (मिथक) बुझ्न जरुरी छ भनेको हुँ मैले । यही कविताको दंदङी गन्हाइरहने काँचो खुनको गन्ध उहाँका अन्य कविताहरूमा पनि पाइन्छ, जसले हामी पाठकलाई पनि सधैँ मताउँछ । यसरी मताउँछ कि गन्धको ओभरडोजले हामी पाठक स्वयम्– ‘साइकेडेलिक’ जस्तो भइसक्छौँ ।
जस्तै यहाँ केही छैन, खाली आँखा छ
जस्तै यहाँ केही छैन, बांगा–सोझा र
नमिल्दा रेखाहरू छन्
जस्तै यहाँ केही छैन, खाली चिसो स्पर्श छ
जस्तै टाँसिन्जेल उभिएर ती पैगोडाहरू
उँंछ, झोक्राउँछन्, सुत्छ
‘सानो नक्सा क्यानभासभरिको’ बाट

अरूले झैँ मैले वल्लभ दाइसित सघन रूपमा उठबस गर्न भने पाइनँ । जति गर्न पाएँ, त्यो मेरा लागि सधैँ प्रेरणादायक रह्यो । सभा समारोह र आक्कल–झुक्कलका आकस्मिक भेटहरू नै मेरा लागि उहाँसित साक्षात्कार गर्ने फलैँचा बने । यद्यपि दाइका बौद्धिक र आत्मिक कुराहरू सुन्ने, कहिलेकाहीँ संवेगले भरिपूर्ण हँसीमजाक र ख्यालठट्टाहरूको अंशियार हुने अवसर भने मलाई नजुरेको होइन । मैले मात्रै होइन, मेरा पुस्ताका धेरै साथीहरूले उहाँसित यस्तो संगत गर्ने अवसर पाए । त्यसैले होला एकपल्ट त हामीबिच यस्तो भनाइ नै चर्चित भएको थियो कि– ‘वल्लभ दाइसित भेटेपिछ गाँजाले मातेजस्तो भइन्छ’ । तर, खासमा गाँजाले मात्दा कस्तो हुन्छ ? अधिकांश मित्रहरूलाई थाहै दिएन । अचम्म लाग्छ ! वल्लभ दाइसितको भेट र गाँजाको मताइको त्यो रूपकको निर्माण कसले गर्‍यो होला ? तर, भन्न खोजिएको के थियो भने उहाँका विचारहरूले, अनुभवहरूले, रचनाहरूले हामी आफैं घेरिन्थ्यौँ । हामी उहाँको विराट व्यक्तित्वले थाहै नपाई प्रभावित हुन्थ्यौँ । उहाँको प्रतिभाको रापले सम्भवतः हामीलाई त्यस्तो महसुस गराउँथ्यो । अहिले, यतिखेर कुनै समयमा उहाँले भएको एउटा कुरा सम्झिन्छु म, ‘भाइ ! खोइ किन हो अचेल आफैँलाई आफूभन्दा ठूलो कोही छैनजस्तो लाग्छ, फेरि अहँ आफू कोही होइन, हुँदै होइनजस्तो लाग्छ ।’ दाइको त्यो अनुभूतिलाई ठीक ढंगले खुट्याउने मसित अहिले पनि सामर्थ्य छैन । अहो ! कि गाँजा लागेपछि त्यस्तो हुन्छ ? कि कुनै महान् लेखकप्रति पाठक वा नागरिकप्रति सरकार अनुत्तरदायी भएपछि त्यस्तो हुन्छ कि ? तर, म सम्झिछु— वल्लभ दाइमा एउटा असन्तुष्टि भने जहिल्यै थियो । विश्वविद्यालयले पनि उहाँका रचनाहरूलाई ठीक ढंगले सम्बोधन गरेन भन्ने असन्तुष्टिको व्यञ्जना पो थियो कि दाइको त्यो अभिव्यक्ति ? तर, संसारको इतिहास हेर्दा असामान्य प्रतिभाहरू सधैँ उपेक्षित नै भएको पाइन्छ ।
हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहरजस्तो फेरि भएर आउँछ
मैले बाँचेको परिवेश सानो त्यति थिएन
परदेशीजस्तो कोही एक्लो पनि थिएन
अल्झेँ कहीँ त के भो बाटो भुलेको छैन
भाँच्चिइसकेको विश्वास फेरि भएर आउँछ

वल्लभ दाइ ! तपाईंबारेमा लेख्न सक्ने उपयुक्त पात्र म होइन । तपार्इंलाई बुझ्न, बुझाउन ठूलै पुराण लाउनुपर्छ । त्यस्तो पुराणवाचन गर्न तपाईंका पिता पं. मुरलीधर भट्टराई पनि उपयुक्त पात्र होइनन् । तर, यो तपाईंकी आमाले आत्महत्या गरेको देश हो । त्यसैले यहाँ यस्तो दुष्प्रयास भइरहन्छ ।

कोसेली

महँगो लुवाक कफी

खाना अध्याय
- विमल खतिवडा

बगलादेशका पत्रकार अलामगिर अपु त्यो कफी चाख्न तम्सिए । कफीको स्वादमा उनी जति उत्सुक थिए, त्यो महँगो हुनुमा पनि उत्तिकै जिज्ञासु थिए । फरासिला वेटरले लुवाक कफीको भेद खोलिदिए– लुवाक (हाम्रोतिर मलसाप्रोजस्तै जन्तु) ले खाएर दिसा गरेका कफीका बिन्सलाई प्रोसेसिङ गरेर बन्छ यो महँगो प्रिमियम ब्रान्ड ।
सी प्लस च्यानलका प्रधानसम्पादक अपु त्यसपछि इन्डोनेसियाको बालीमा करिब ५५ डलर खर्च गरेर सबै कफी–प्रक्रियाको भिडियो बनाउन तयार भए । युट्युबका दर्शकले भिडियो व्यापक रुचाउनेमा उनी आशावादी देखिन्थे ।
भिडियो खिच्दा थाहा भयो— पाकेको दाना खुवाउन लुवाकलाई बगैंचामै लगिँदो रहेछ । दाना खाएको केही समयपछि प्रायः लुवाकले बगैंचामै र केहीले खोरमा कफीको दानासहित दिसा गर्दा रहेछन् । यी दाना संकलन गरेर सफा गरिन्छ र घाममा सुकाइन्छ । त्यसपछि सुकेको दाना भुटेर ओखलमा कुटेर धूलो बनाइन्छ । त्यही धूलोबाट बन्छ— लुवाक कफी ।
वन्यजन्तुको दिसामा रहेका बिन्सलाई प्रोसेसिङ गरेर बनाइने कफी भनेपछि सबैको नजरमा यो परेको हो, जसले गर्दा डिमान्ड धेरै भयो र सप्लाई कम । त्यसैले यो महँगो भएको कफी हाउसका सञ्चालक साप्पा वडी बताउँछन् । अपुले मगाएको कफी केही समयमा आयो । उनले त्यसको चुस्की लिँदै स्वाद वर्णन गर्न थाले । भिडियोमा उनले यसको विशेषता र यो महँगो हुनुको कारण पनि खुलाए । अपुले भने, ‘सुरुमा त दिसाबाट बनेको कफी भन्ने सुनेपछि पिउन अप्ठ्यारो लाग्यो । तर, मेरा दर्शकलाई लुवाक कफीबारे बुझाउनु थियो । त्यसैले जबर्जस्ती पिएँ । तर, स्वादमा अरू कफीभन्दा फरक पाइनँ ।’
लुवाक निशाचर जीव हो । यो जीव दिनमा लाटोजस्तै हुन्छ तर रातमा बाठो हुन्छ । कफी हाउसको एक छेउमा लुवाकलाई थुनेर राखिएको छ भने कतै लुवाकले खाएर दिसा गरेको दाना जस्ताको त्यस्तै छ । कतै भने तिनै दानालाई सफा गरेर राखिएको छ । बालीका भित्री लोकेसनमा लुवाक कफीको स्वाद लिने धेरै ठाउँ भेटिन्छन् । यो विश्वकै महँगो कफीमा पर्छ ।
विदेशीहरू अनिवार्यजस्तै बालीको उपहारका रूपमा लुवाक कफी किन्छन् । कफी हाउस घुम्न आउनेलाई चिनाउन कफीसमेत रोपिएको छ । ‘कफीलाई व्यावसायिक रूपमा प्रोसेसिङ गर्दा
ट्यांकीमा राखेर कुहाउने गरिन्छ,’ नेपालका कफी विज्ञ डा. राजकुमार बन्जारा भन्छन्, ‘तर लुवाक कफी भने लुवाकको पेटभित्रै कुहिएर बिन्स मात्रै बाहिर निस्किन्छ । प्राकृतिक रूपमै प्रोसेसिङ हुने भएकाले पनि यो धेरैले रुचाएको हुनुपर्छ ।’ उनका अनुसार, इन्डोनेसियाको ट्यांगामस क्षेत्रको लामपुङ प्रान्त र लेम्बाङको सिकोले गाउँ क्षेत्र तथा बानदुङ र पश्चिमी जाभामा लुवाक कफी पाइन्छ । नेपालमा यो विधि खासै प्रयोगमा छैन । नेपालमा पनि मलसाप्रो वा कतै वनचरी भनिने जीवले कफी खाइदिने गर्छ । तर, बालीमा जस्तो यहाँ त्यसलाई संकलन गरेर प्रोसेसिङ गर्ने चलन छैन ।
इन्डोनेसियामा लुवाक कफीको मागसँगै लुवाकलाई बन्धक बनाएर घरमै खोर बनाएर पाल्न थालिएको छ । पशु अधिकारकर्मीले त्यसको विरोध गरेका छन् । लुवाकलाई थुनेर राखिन्छ र केही खान दिइँदैन, लुवाक जति भोको भयो उति कफी खान्छ र बिस्ट्याउँछ भनिन्छ । इन्डोनेसिया लुवाक मात्र नभई अन्य कफी ब्रान्डका लागि पनि सुपरिचित छ । त्यहाँको जाभा प्रान्तको नामबाटै कफीको प्रख्यात वैकल्पि क नाम जाभा रहन गएको छ ।